बालबच्चा बचाउन घस्रिँदै घरतिर
सरकारले शनिबारसम्म मूलबाटो बन्द गरिदिएपछि उनीहरू कान्ति लोकपथ हुँदै गइरहेका थिए । सर्लाही लालबन्दीकी शान्ति घिसिङ, पूजा मोक्तान, कविता र सुस्मिता गर्भवती रहेछन् । ललितपुर फसिडोलको श्री इँटाभट्टामा काम गर्ने उनीहरू शनिबार बिहानै २ बजे उठेर सर्लाहीतिर जान निस्किएका थिए । उनीहरूका श्रीमान् र अरू सय जनाजति पैदल बाटो लागे । घाम उदाउनुअघि नै टीकाभैरवबाट तीनपानेको उकालो कटिसक्ने गरी उनीहरू राति नै हिँडेका रहेछन् । यात्रामा करिब सय जनाको समूह भए पनि बाटो थाहा पाउने कोही थिएनन् ।
उनीहरू कहिल्यै यसरी हिँडेका थिएनन् । बाटो भुलेर उनीहरू तीनपाने डाँडाभन्दा माथि टावरमा पुगेछन् । शनिबार १२ बजेर १५ मिनेटमा खुट्टा खोच्याउँदै ११ जना तीनपाने आइपुगे । अरू जंगलमै अल्मलिएछन् । १२ बजेसम्म
उनीहरूले खाना, खाजा केही खान पाएका थिएनन् ।
६ महिनाकी गर्भवती पूजा अरूभन्दा बढी मलिन देखिन्थिन् । उकालो र ओरालो हिँडाइले थकित उनीहरूले तीनपाने झरेपछि चाउचाउ र चाउमिन खाए । खाजा खाएकै होटलमा मकवानपुरको सिमाना प्युटार जाने खाद्यान्न बोकेको ट्रकका चालक पनि खाइरहेका थिए । पूजाका श्रीमान्ले ट्रक चालकलाई आफ्नी श्रीमती गर्भवती भएकाले हिँड्नै नसकेको समस्या सुनाए, तर ती चालकले आफूलाई प्रहरीले कारबाही गर्छ भन्दै लैजान इन्कार गरे । अरू तीनजना गर्भवतीका श्रीमान् पनि आएर ती चालकलाई हारगुहार गरे ।
हामीले उनीहरूको कुरा सुन्यौं,
केही गर्न सकेनौं । केही बेरपछि
अर्को टिपर आयो । १० घण्टा हिँडेर थाकेकी गर्भवतीलाई उद्धार गरिदिए हुन्थ्यो भन्ने हामीलाई पनि लागेको थियो । हात देखाएपछि टिपर
रोकियो । चालकले बस्ने ठाउँ छैन भन्दै थिए, तर टिपरबाट ढाकाटोपी लगाएका एक जना व्यक्ति
ओर्लिए । उनी कान्ति लोकपथको टीकाभैरवदेखि बगुवा खण्ड बनाउने ठेक्का पाएका ठेकेदार केदार तिमल्सिना रहेछन् । टिपरमा डोजर लाग्ने
बकेट राखिएको रहेछ । गाडीमा मान्छे राख्दा च्यापिएला कि भन्ने उनलाई चिन्ता थियो ।
तैपनि त्यहाँको दुःख देखेपछि उनी ती गर्भवतीलाई मकवानपुरको सिमानासम्म पुर्याउन तयार भए तर भट्टेडाँडा प्रहरी चौकीछेउमा चाहिँ ओर्लिनुपर्ने सर्त राखे । उनले यसअघि पनि कान्ति लोकपथमा अलपत्र परेका र गर्भवती धेरैलाई उद्धार गरेको सुनाए । टिपरमा जाने ती गर्भवतीले कस्तो कष्ट पाउलिन् भन्दै हामी अघि बढ्न लागेका थियौं, तीनपानेका होटल सञ्चालक कुमार तामाङले भने, ‘उनीहरू त सामान्य हुन् । बाटैमा सुत्केरीसमेत भए । केहीको त बच्चा खेर पनि गयो । केही त घर जाँदा बाटोमै लडेर बितेको सुनेँ ।’
हामी १० किलोमिटर टाढा भट्टेडाँडा प्रहरी चौकी पुग्यौं । ती महिलालाई ठेकेदार तिमल्सिनाले टिपरबाट झारेर पठाइसकेका रहेछन् । कान्ति लोकपथमा फाट्टफुट्ट मोटरसाइकल, सरकारी गाडी र खाद्यान्नका गाडी मात्रै चलिरहेका थिए ।
टिपरमै रहेका एक युवाले इँटाभट्टामा काम गर्ने सय जना जंगलमै अलपत्र परेको सुनाएका थिए । उनीहरू कहाँ पुगे होलान् भन्ने लागिरहेको थियो । तिनीहरू जंगलैजंगल मकवानपुरको सिमाना निस्कन सक्ने होटल सञ्चालक तामाङले बताएका थिए । उनीहरू तीनेपानेभन्दा अलि पर नयाँगाउँको खोल्सामा थकाइ मार्दै आफैंले बोकेको खाजा खाइरहेको अवस्थामा भेटिए । यो समूहमा सर्लाहीको लालबन्दी र हरिवन तथा महोत्तरीको बर्दिबासका ६० जना थिए, जसमा २० जना बालबच्चा रहेछन् । केहीको खुट्टामा चप्पलसमेत थिएन ।
सबैले नाम्लो लगाएर आफ्ना लत्ताकपडा र भाँडाकुँडाका पोका बोकेका थिए । साथमा कुकुर र कुखरा पनि थिए । स–साना बालबच्चा पनि सकिनसकी भारी बोकेर हिँडिरहेका थिए । उनीहरूले फसिडोलबाट नयाँगाउँसम्म १३ घण्टाको यात्रा गरिसकेका थिए ।
त्यो टोलीमा अढाई र तीन वर्षका बच्चा पनि थिए । त्यही समूहमा थिइन्– ६ वर्षीया सजिना मगर । ५६ वर्षीया हजुरबुबा हर्क र सानुआमा रुपा भुजेलसँग उनी सर्लाहीतिर हिँडेकी थिइन् । यात्रामा रुपाको परिवारको मात्रै छजना रहेछन् । बुबा हर्कले नाम्लो लगाएर ओढ्ने–ओछ्याउने कपडा बोकेका थिए । उनका श्रीमान्ले कपडा र भाँडाकुडा बोकेका थिए । ८ वर्षीय छोराले कुकुरको छाउरो बोकेका थिए । सजिना र उनले सकिनसकी एक/एकवटा भाले पनि काखी च्यापेका थिए ।
स्थानीयले लखेटे
लकडाउनमा फसिडोलको इँटाभट्टामा स्थानीयले काम गर्न नदिएपछि परिवारसहित गाउँ फर्कन बाध्य भएको उनीहरूले बताए । पुरुषहरू प्रायःले नाम्लो लगाएर ओढ्ने–ओछ्याने र भाँडाकुँडा बोकेका थिए । धेरै महिलाले भने दूधेबच्चा काखी च्यापेर पछाडि झोला भिरेका थिए । ‘हामीले काम गर्ने भट्टामा स्थानीय बासिन्दाले काम गर्न नदिएपछि हामी सबै सामान लिएर घर हिँडेका हौं,’ रुपाले भनिन् ।
साना बच्चा खेल्दै र दौडिँदै कान्ति लोकपथको भित्ता र भीरछेउ हिँडिरहँदा बाबु–आमा भने घरीघरी आत्तिन्थे । भित्ताभित्ता हिँड्नु भन्दै सम्झाउँथे । लोकपथको तीनपानेदेखि भट्टेडाँडा खण्ड मूल सडकबाहेक माथि र तल भीर छ । केही ठूला मान्छे पनि हिँड्न नसकेर बाटोमै लम्पसार परेर सुतिरहेका थिए । आमाबुबा थकाइ मार्न बस्दा बच्चाहरू सुतेपछि उठाएर रुवाउँदै घिसारेर लैजाने पनि उत्तिकै थिए । उनीहरू १५ मिनेटजति हिँडेपछि एकछिन बस्थे । बच्चा हिँड्न सक्दैनथे, रुँदै हिँडिरहेका थिए । केहीले भारीमाथि पनि बच्चा बोकेका थिए । उनीहरूको पहिलो दिनको यात्रा कहाँसम्म हो भन्ने थाहा थिएन । हामी बाइकमा अगाडि–पछाडि हुँदा त्यो समूह निरन्तर हिडिरहेकै भेटिन्थ्यो ।
फसिडोलको श्री इँटाभट्टाका सञ्चालकले दुइटा गाडी रिजर्भ गरेर उनीहरूलाई मंसिर ६ गते ललितपुर ल्याएका रहेछन् । त्यतिखेर आउने हरेकले एक लाखभन्दा बढी काँचो इँटा बनाएका छन् । लकडाउन भएपछि भट्टा वरिपरिका बासिन्दाले काम गर्न नदिएर काँचो इँटा बनाएको पैसासमेत नपाई उनीहरू गाउँतिर फर्कन बाध्य भएका रहेछन् । भट्टा सञ्चालकले हरेक परिवारलाई २ हजार खर्च दिएर पठाएको उनीहरूले सुनाए । केही परिवारले त्यो पनि नपाएको बताए । केहीसँग त बाटोमा खाजा खाने पैसा पनि रहेनछ । लतिपुरको भट्टेडाँडासम्मको पहिलो दिनको २५ किलोमिटर यात्रामै उनीहरू निकै थकित भएको देखिन्थे । उनीहरूले अब थप १ सय ५९ किलोमिटर यात्रा तय गरी सर्लाहीसम्म पुग्नै बाँकी थियो ।
साँझ ६ बज्न लाग्दै आकाशमा कालो बादल मडारिन थाल्यो । उनीहरू आत्तिए । पाइला अलि छिटो चाल्न खोजे पनि सक्दैनथे । भट्टेडाँडा पुगेपछि फाट्टफुट्ट पानी पनि छिट्याउन थाल्यो । दिनभरि हिँडेर लखतरान भएको एउटा समूह प्रहरी चौकीनजिकै सहकारीले बनाएको जस्ताको टहराबाहिर आराम गरिरहेका थिए । उनीहरू खानेपानी खोज्दै थिए । भेट्टाएनन् । हावाहुरी चल्न थालेपछि लालाबाला च्यापेर आत्तिँदै स्थानिय सहकारी भवनभित्र छिरे । उनीहरूको पहिलो दिनको यात्रा यहीं रोकियो । यही छाप्रोमा रात कटाउन बसे ।
उनीहरूमध्ये कोही दाउराको जोहो गर्न लागे । कोही भट्टेडाँडा बजारनजिकै पानी लिन गए । कोहीचाहिँ दिनभरि कार्टुनमा राखेको कुखुरा चराउनतिर लागे । तीमध्येका थिए सर्लाहीको लालबन्दी, परवानीपुरका राजेश । उनले कुखुराका सातवटा चल्ला र पोथी ल्याएका रहेछन् । छोरा–बुहारीसहित चारजनाले चार महिनामा २ लाख २५ हजार इँटा बनाएको उनले बताए । एउटा इँटा बनाएको एक रुपैयाँ पाउने रहेछन् ।
दाउरा र पानीको जोहो गर्दागर्दै साढे ६ बजे हावाहुरी बेस्सरी चल्न थाल्यो । हामी उनीहरूको दुःख र पीडाका दिनभरिका साक्षी थियौं, उनीहरूका लागि चामल र तरकारी किन्न पसल मात्रै के पुगेका थियौं, चट्याङ, हावाहुरी र मुसलधारे पानी परेपछि निस्कनै सकेनौं । पसल सञ्चालक कान्छा खड्का सामान निकाल्दै पसलको ढोकामै थिए । चर्को आवाजमा चट्याङ परेपछि उनी तर्सिए । करिब आधा घण्टापछि पानी अलि कम भयो । उनीहरूलाई खानेकुराको जोहो गरेर फर्किंदै थियौं, कृषि सहकारीको हलभित्र पानी छिरेर चिहिलबिहिल भएको देख्यौं । पानी मत्थर भएसँगै उनीहरूले खाना पकाउन ढुंगाका ६ वटा चुलोमा आगो सल्काए ।
उनीहरूभन्दा पछिल्लो समूहमा रौतहट, चन्द्रनिगाहपुर पुग्ने मनमाया बम्जनको परिवारलाई हामीले भेटेका थियौं । रौतहट र सिन्धुलीका १२ जनाको समूहमा मनमायाका १० र ६ वर्षीय छोरा तथा ५ वर्षीया छोरी पनि थिए । यो समूहले चाहिँ चाउचाउ र बिस्कुटमा छाक टार्ने निधो गर्यो ।
रौतहट जानेहरूको पीडा इँटाभट्टामा काम गर्नेको भन्दा चर्को छ । घर बनाउने ज्यामी काम गर्ने उनीहरू काठमाडौंको सुन्दरीजलबाट हिँडेरै यहाँ आइपुगेका थिए । कोठामा खानेकुरा नभएपछि घर हिँडेको उनीहरूले बताए । नगरपालिकाले ५ केजी चामल र आधा लिटर तेल राहत दिए पनि थप खानेकुरा किन्ने पैसा नभएकाले उनीहरू साना छोराछोरी हिँडाएर घर जाने निधोमा पुगेका रहेछन् । उनीहरूलाई पनि चिउरा, दालमोठ, बिस्कुट र चाउचाउ किनेर ल्याइदियौं ।
‘आज कमाएर आजै खान्थ्यौं, काम नै नभएपछि खानेकुरा किन्न सकिएन,’ मनमायाले भनिन्, ‘छोराछोरीलाई भोकै मार्नुभन्दा हिँडायौं ।’
उनीहरूले चिसो भुइँमा कोठामा भेटिएको फ्लेक्स र बोरा ओछ्याए । ६ वर्षीया छोरीले चिसो भयो भनेपछि चप्पल ओछ्याइदिए । अँध्यारोमा मनमायाले मोबाइलको टर्च बालिन् ।
हामीले दिएको चिउरा, चाउचाउ र बिस्कुटका पोका खोलेर बीचमा राखी खान थाले । मनमाया छोराछोरीले खाएको एकहोरो भएर हेरिरहिन् । बोल्न सकिनन् । चिउराको फ्वाँक मुखमा लान खोज्थिन् तर सक्दिन थिइन् । उनी छोराछोरीको मुखमा हेरेर टोलाइन् । मुख छोपेर केहीबेर भक्कानिइन् । सायद उनलाई बच्चालाई चिसो भुइँमा राखेर चिउरा खान दिनुपरेको पीडाले सताएको हुनुपर्छ । चिउरा र पानी खाएर त्यही चिसो भुइँंमा उनीहरू सुते । छोरालाई आफ्नो कपडा ओडाइदिइन । दिनभरिको थकाइले होला उनीहरू ढल्कनेबित्तिकै निदाए । बाहिर खाना पाके पनि उनीहरूलाई खुवाउन सकिएन ।
एक दिनका लागि बस्ने र खाने व्यवस्था भएपछि सबैजनाले सन्तोषको सास फेरे । भट्टाको झ्याडी ओछ्याएको कालो म्याट सबैले साथमै लगेका थिए । बास पाउनेबित्तिकै सबैले त्यही म्याट ओछ्याए । सर्लाहीकै सम्झाना विक भने बास बस्ने ठाउँमा पुगेदेखि न्याउरो अनुहार लगाएर बसेकी थिइन् ।
१५ महिने छोरी बाटैदेखि काखमा सुतेकी थिइन् । छाप्रोमा अरूले जस्तै उनले पनि सुत्ने व्यवस्था मिलाइन् । श्रीमान् नआएपछि बाहिर–भित्र गरिरहेकी थिइन् । सबैका श्रीमान् र आफन्त साथमा हुँदा उनी भने खिन्न मानिरहेकी थिइन् । उनका श्रीमान् हिँड्न नसकेर झाँक्रीडाँडामा लडेका रहेछन् । ‘थोरै जाँड खानुभएको त हो, उहाँलाई मुटु दुख्ने समस्या पनि छ । खाली पेटमा खाएको जाँड पनि लागेछ । हिँड्न नसकेर बाटोमै छोडेर आयौं,’ राति ९ बजे सम्झनाले भनिन्, ‘अहिलेसम्म आउनुभएको छैन । के गर्ने होला ?’ बास बस्ने ठाउँमा पुग्नेबित्तिकै पानी र हावाहुरी पर्दा उनी झन् अत्तालिएकी थिइन् । हामीले प्रहरी र स्थानीयलाई ल्याउने व्यवस्था गरिदिन आग्रह गर्यौं तर सम्भव भएन ।
काठमाडौं उपत्यकाको बसाइ छाडेर घर हिँडेकालाई हामीले लोकपथका ठेकेदार तिमल्सिनासँग सापटी मागेर भए पनि खानाको व्यवस्था गरी खुवाइसक्दा राति १० बज्यो । हामीलाई पनि काठमाडौं फर्कनु थियो । पानी सिमसिम परिरहेको थियो । त्यसअघि परेको मुसलधारे पानीले कान्ति लोकपथका केही ठाउँमा पहिरो खसेको रहेछ । हामी मोटरसाइकल छिर्ने गरी ढुंगा पन्छाउँदै अघि बढ्यौं । तीनपाने डाँडामा नआएम्म डरै थियो ।
हामीले हिँड्दाहिँड्दै हराएका सम्झनाका श्रीमान्लाई बाटोमा कतै देखेनौँ । कुरा गर्यौं, ती कता हराए होलान् ? अनि कछुवा गतिमा हिँड्न बाध्य अरु मजदुरहरू अहिले कहाँ पुगे होलान् ? लालाबाला रुवाउँदै हिँड्न बाध्य उनीहरू सिन्धुली, महोत्तरी र सर्लाही कहिले पुग्लान् ?
अनि आफ्नै मनमा प्रश्न उठ्यो– मुलुकका तीन तहका सरकारले दिनदिनै निस्किरहेका यी दीनहीनहरूको लस्करलाई किन देख्दैन ?
सर्लाही, महोत्तरी, सिन्धुलीलगायत जिल्ला जान हिँडेका मजदुर शनिबार कान्ति लोकपथस्थित ललितपुरको भट्टेडाँडामा । राजधानीका विभिन्न क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका उनीहरू शनिबार दिनभरि हिँडेपछि राति भट्टेडाँडामै खाना खाएर बास बसेका थिए । तस्बिरहरू : किरण पाण्डे/कान्तिपुर