You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

२६ को मृत्यु, ४१ बेपत्ता, २४ जना घाइते

- कान्तिपुर संवाददाता

 

गातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा शुक्रबार
मात्रै १३, कर्णालीमा १० र प्रदेश ५ मा ३ गरी २६ जनाको मृत्यु भएको छ । थुप्रै
बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । धेरै परिवार विस्थापित भएका छन् । सडक, बाटोघाटोसमेत अवरुद्ध छन् ।
म्याग्दीको धौलागिरि, रघुगंगा र मालिका गाउँपालिकाका विभिन्न ठाउँमा बिहीबार रातिदेखि आएको पहिरो र बाढीमा परी
तीन जनाको मृत्यु भएको छ भने ३१ जना
बेपत्ता भएका छन् । ३९ वटा घर पुरिएका छन् । धौलागिरि–६ मराङको पहिरोमा
परी बेपत्ता भएका स्थानीय तुलबहादुर केसीको शुक्रबार साँझ शव फेला परेको
छ । त्यही वडाको कल्लेनीमा अर्का
एक जनाको शव देखिए पनि फेरि खसेको पहिरोले तलतिर हुत्याएकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ । त्यसैगरी रघुगंगा–६ ठाडाखानीका ललितमान छन्त्यालको ठाडोखोलाको बाढीमा बगेर
मृत्यु भएको छ । सडक र पैदल बाटो भत्किएका कारण उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा धौलागिरि–६ मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक र कम्दीका २१ जना, धौलागिरि–७ ताकमका ३, मालिका गाउँपालिका–७ र विमका आठ जना बेपत्ता छन् । दुवै गाउँपालिकाका गरी २ सय ४० जना अलपत्र परेका छन् । धौलागिरिको कल्लनीबाट प्रहरी र स्थानीयले ७० जनालाई उद्धार गरी सुरक्षित स्थलतर्फ लगेका छन् । पहिरोमा घाइते सात जनालाई पनि उद्धार गरिएको छ ।
उद्धारका लागि सेना, प्रहरीसमेतको टोली पैदलमार्गको पहिरो पन्छाउँदै म्याग्दीको दरवाङदेखि अघि बढे पनि बाटो नहुनाले शुक्रबार साँझसम्म घटनास्थलमा पुग्न सकेका छैनन् । मुख्य घटनास्थल सदरमुकामदेखि ४० किलोमिटर पश्चिममा पर्छ । उद्धारका लागि आएका दुई
हेलिकप्टर खराब मौसमका कारण बीचबाटै फर्किएका थिए । धौलागिरिको मराङमा
२० घर, ताकममा ५ र मालिकाको
विममा १० घर पुरिएका छन् । त्यस्तै मालिका–५ देवीस्थानको खारवाङमा एक घर र मगरदाङमा २० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको पावरहाउस पुरिएको स्थानीय सूर्यमुखी युवा क्लबका अध्यक्ष भक घर्तीमगरले बताए ।
धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार ताकम मावि, हुलाक कार्यालय, स्वास्थ्यचौकी भवनसहित सयौं रोपनी धानखेती पनि पुरिएको छ । त्यस्तै वडा ५ को मल्कवाङमा दर्जनभन्दा बढी पहिरो झरेपछि हेल्थपोस्ट, सामुदायिक भवन, विद्यालय भवनमा क्षति पुगेको छ । राहुघाट खोलामा आएको बाढीले बेनी–जोमसोम सडकको गलेश्वरस्थित बेलीब्रिज बगाएको छ । पुल जगैसमेत बगेपछि बाढी पिप्ले गलेश्वर बस्तीतर्फ सोझिएको छ ।

मोटर पुल बगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला यातायातबाट विच्छेद भएका छन् । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार राहुघाटको बाढीले वडा ८ द्वारीमा तीन घर पुरिएका छन् । रघुगंगा–३ पिप्ले गलेश्वर खण्डका २१ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।
सिरानका बस्तीमा गएको भीषण बाढीपहिरोपछि म्याग्दी खोलाको तटीय क्षेत्रका बस्तीमा जोखिम बढाएको छ ।
बाढीले बस्तीतर्फ कटान थालेपछि सदरमुकाम बेनी मंगलाघाटका अस्थायी प्रहरी चौकीसहित सात परिवारलाई सुरक्षित स्थानमा पुर्‍याएको प्रहरीले जनाएको छ । म्याग्दी खोलाको बाढीले मंगला गाउँपालिका र बेनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रमा कटान गरेको छ । ‘पहिरोले बस्ती पूरै घेरिएकाले स्थानीय, प्रहरी र सेनाका तीन उद्धार टोली घटनास्थल पुग्ने प्रयास जारी छ,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सबै विवरण स्थानीय जनप्रतिनिधिबाट संकलन गरिएका हुन् । प्रहरीले क्षतिको विवरण संकलन गरिसकेको छैन । यो प्रारम्भिक तथ्यांक मात्र हो ।’
कास्कीको पोखराका विभिन्न ठाउँमा खसेको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । पोखरा–१८, सराङकोट गोठादीमा बिहान साढे २ बजेतिर खसेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुर्दा पाँच जनाको मृत्यु भएको छ । मृतकमा घरधनी ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाइका नातिनातिना ६ वर्षीय सुवान थापा र ११ वर्षीया इसिका थापा छन् । आठ वर्षीय शीतल श्रेष्ठको पनि मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । पहिरोमा पुरिएर २२ वर्षीया पिंकी, १८ वर्षीया आशा थापामगर र पिंकीकी ५ वर्षीया छोरी पिरिसा थापामगर घाइते छन् । घटनामा तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ पनि घाइते भएकी छन् । मृतक शीतल उनकै छोरा हुन् । सरस्वतीका १० वर्षका अर्का छोरा पनि घाइते छन् । यसैगरी छिमेकी १९ वर्षीय अनिश तामाङ, रशी थापा, रश्मी थापामगर घाइते भएका छन् ।
घरमाथिको ग्रामीण सडकमा दुई साताअघि पहिरो आएर नाली पुरिएको थियो । त्यसलाई नहटाउँदा वर्षाको पानी सडकमा बगेर डिलमा बनाएको रिटेनिङ वालमा पुगेको र सोही वाल भत्किएर पहिरो जाँदा थापाको घर पुरिएको हो । बिहीबार राति पिंकीको जन्मदिनमा आफन्त र छिमेकी जमघट भएका थिए ।
पोखरा महानगरपालिका–२५ हेम्जा मेलबोटमा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । पोखरा–१७ छोरेपाटन सिमलटुडाका चन्द्रबहादुर मगरको घरमाथिबाट पहिरो आई भत्किँदा तीन जना घाइते भएका छन् । पोखरा–१९ तल्लोडाँडाका गिरीधारी बास्तोलाको धन्सार पुरिएको छ ।
कास्कीको माछापुच्छ्रे–९ चुङडुङस्थित मनबहादुर क्षत्रीको घर भत्किएर चार जनाको परिवार विस्थापित भएको, माछापुच्छ्रे–२ भुज्रुङखोलामा सार्वजनिक खानेपानीको ट्यांकी बगेको र स्थानीय अमर तामाङ, हीराबहादुर तामाङ, राममाया तामाङ र होमबहादुर गुरुङको घर जोखिममा परेका प्रहरीले जनाएको छ । कास्की जिल्ला विपद् व्यवस्थापन समितिले प्रतिमृतक एक लाखका दरले तत्काल राहत उपलब्ध गराउने र घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिएको छ । शुक्रबार दिउँसो प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक दीपकका बुबा हर्कबहादुरलाई ३ लाख रुपैयाँ दिए ।
त्यसैगरी, लमजुङको बेंसीसहर नगरपालिका–७, सातबिसेमा घरमाथिबाट खसेको पहिरोले पुरिँदा वडा १०, खाँचेका एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३३ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २७ वर्षीया भीममाया र छोरा १० वर्षीय छेवाङको घटनास्थलमै मृत्यु भएको हो । दीपकका बुबा हर्कबहादुर, आमा र ६ वर्षीया छोरी पनि बिहीबार गाउँबाट फर्केका थिए तर बेंसीसहरस्थित घरमा कामदार भएपछि दीपककी दिदी सावित्रीकामा गएका थिए । दीपक, भीममाया र छेवाङ पनि जाने तयारी गरे पनि मुसलधारे पानी परेकाले रोकिएका थिए ।
दीपकसँगै काम गर्ने ६ जना सातबिसेस्थित घरमा बस्ने भएपछि परिवारका अन्य सदस्य घर नबसेका हुन् । घरभित्र पुरिएका सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमन गुरुङ घाइते छन् । उनीहरूलाई सकुशल उद्धार गरिएको हो । घटनास्थलमा स्थानीयसँगै प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्यमा जुटेका थिए । तीनै जनाको शव राति नै निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताए ।
भीषण वर्षा र बाढीपहिरोका कारण लमजुङमा १५ घर विस्थापित भएका छन् । बेंसीसहर नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्व्होलासोंथरका गरी १५ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । विस्थापितहरू छिमेकी र सामुदायिक भवनमा बसेका छन् । ५० घर उच्च जोखिममा परेको डीएसपी शर्माले बताए ।
पश्चिम नवलपरासीमा खहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दघाट नगरपालिकाको खहरे खोलाले बगाउँदा वडा १५ का २० वर्षीय सुधीर विक र १८ वर्षका प्रवीण विकको मृत्यु भएको हो । खोलामा बाढी आएको समयमा माछा मार्न गएका बेला विकद्वयको खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होमनाथ रेग्मीले बताए ।
यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–४, फुस्रेमा पहिरोले पुरिएर शुक्रबार ६२ वर्षीय यमबहादुर श्रीसको मृत्यु भएको छ । घरनजिकै खेतमा कुलोको भल काट्न गएका उनलाई माथिबाट खसेको पहिरोले च्यापेको प्रहरीले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा आएको बाढीका कारण पुल्चोक क्षेत्रका ४२ घर डुबानमा परेका छन् । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेसँगै नगरपालिकाको ४ र ८ वडाको पुल्चोकस्थित नदी किनारका बस्ती डुबानमा परेका हुन् । सेती र सुरौंदी खोलासमेत पुल्चोक क्षेत्रमा पसेपछि घर डुबानमा परेको नगरप्रमुख किसान गुरुङले बताए । वडा ४ का २८ घर र वडा ८ का १४ घर डुबानमा परेपछि यहाँका करिब १ सय ५० जनाभन्दा बढीलाई उद्धार गरी अहिले स्थानीय विभिन्न समाजका भवनहरूमा सुरक्षित राखिएको उनले बताए । सेतीको बाढीले सोही ठाउँको सेती नदीमाथिको पक्की पुल पनि जोखिममा परेको छ । सेना र प्रहरीसँगै जनप्रतिनिधिहरू पनि डुबानमा परेको क्षेत्रमा उद्धारका लागि खटिएका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । यसैबीच गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा बिहीबार राति आएको पहिरोमा ७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोले सार्कीगाउँका २ घर बगाएको छ । ती घरमा परिवारका ८ जना र पाहुना बस्न आएका ४ जना थिए । प्रहरीका अनुसार ५२ वर्षीय गोपाल सार्की, उनकी पत्नी ५० वर्षीया पुष्पा, छोरी १३ वर्षीया लक्ष्मी र छोरा ११ वर्षीय अर्जॅन, अर्को घरका ३५ वर्षीया कलु सार्की, उनकी १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला, ६ वर्षीय छोरा सुभास र पाहुना बस्न आएका कुशे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की पहिरोमा पुरिएका थिए । तीमध्ये गोपाल, अर्जुन, तिर्खा, डिल्ली र वीरेन्द्र सार्कीको शव फेला परेको छ । अन्य २ जनाको सनाखत हुन सकेको छैन । कलुका श्रीमान् तुलबहादुरको भने ज्यान जोगिएको छ । उनी छिमेकीको घरमा बिरामी कुर्न गएकाले पहिरोबाट ज्यान जोगिएका हुन् । ‘म छिमेकीको घरमा बिरामी कुर्न बसेको थिएँ, राति पहिरो गएको थाहा पाएर घर नजिक आउँदा आँखा अगाडि सबैजना पहिरोले लगेको थाहा पाएँ,’ उनले भने, ‘मेरो भाग्य फुट्यो, छोराछोरी पनि फर्केर आउने आशा छैन ।’
त्यस्तै, बारेकोट–६, धुमास्थित खहरेखोलाले बगाएर २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धुमका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने रहेका छन् । बेपत्ता ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार बाढीपहिरोमा परेर ३ जना गम्भीर घाइते भएका छन् । पालिका अध्यक्ष महेन्द्रबहादुर शाहका अनुसार बेपत्ताको शव पहिरोले बगाएको घरदेखि करिब १० मिटर तल भेटिएको थियो । ‘पानी परिरहेको छ, अझै पहिरो गइरहेको छ,’ उनले भने, ‘यसले गर्दा बेपत्तालाई खोज्न निकै गाह्रो भएको छ ।’
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–३ स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजे स्थानीय तुलबहादुर दमाईको घर पहिरोले पुरेको थियो । घरभित्र रहेका २८ वर्षीया सीता दमाई र उनका छोरा ६ वर्षीय हाविलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी ८ वर्षीया छोरी हीरा घाइते भएकी छन् ।
यसैबीच पहिरोमा परेर गत शुक्रबार कालीकोटको नरहरिनाथ–७, माल्कोटमा ३५ वर्षीया तुला बटालाको मृत्यु भएको छ । लेकको गोठमा भैंसी हेरालो गएकी बटालालाई राति पहिरोले पुरेको थियो । उनको शव भोलिपल्ट मात्र भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । पहिरोले सोही राति नरहरिनाथ–७ को वडा कार्यालय रहेको घर पनि भत्काएको छ । पहिरोमा ६ कोठे घर भत्किएपछि वडा कार्यालयका सबै कागजात नष्ट भएका छन् । कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि लागू गरेको विपद् जोखिम बिमाबाट मृतकका परिवारलाई जनही २ लाखका दरले रकम उपलब्ध गराउने भएको छ ।

सिन्धुपाल्चोकमा थप ३ बेपत्ता
सिन्धुपाल्चोकको भोटेकोसी नदीले बगाएर थप तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान ८ बजेतिर भोटेकोसी गाउँपालिका–४ लार्चाका नाम्टे मगर र पहिचान नखुलेका दुई जना बाढीमा बेपत्ता भएका हुन् । शुक्रबारै लार्चा पुलछेउमा एउटा शव भेटिए पनि पहिचान नखुलेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बिहान ८ बजेतिर लार्चा, कोदारी र तातोपानीका चार घर भोटेकोसीले बगाएको छ । भोटेकोसी गाउँपालिका–३ दुगुनामा बस्तीमाथि पहिरो खसेपछि दुई दर्जन परिवार विस्थापित भएका छन् । बुधबार रातिको बाढीले भोटेकोसीमा बेपत्ता बाह्रबिसे नगरपालिका–५ जम्बुका १६ र भोटेकोसी–५ बुर्कटेका चार जना अझै फेला परेका छैनन् ।
साथमा सम्झना रसाइली (तनहुँ),
नवीन पौडेल (परासी), तुलाराम पाण्डे (कालीकोट)
र अनिश तिवारी (सिन्धुपाल्चोक)

 

मुख्य पृष्ठ

‘बर्थ–डे’ पछि उज्यालो हुन पाएन

- दीपक परियार

(पोखरा) - पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त र छरछिमेकलाई बोलाए । खुसी मनाए । २१ पुगेर २२ टेकेकी पिंकीको खुसी आधा रातमा खोसियो । घरमाथिबाट पहिरो खस्यो । जन्मदिनको उत्सवमा जुटेका पाँच जनाले तत्कालै ज्यान गुमाए ।
पिंकीले ५० वर्षीय बुबा टंकबहादुर र ४५ वर्षीया आमा सोममायालाई गुमाइन् । पाहुना आएकी सोममायाकी बहिनी सरस्वती श्रेष्ठले आठ वर्षीय छोरा शीतल श्रेष्ठलाई गुमाइन् । टंकबहादुरका माइला दाइ शेरबहादुरले ६ वर्षीय नाति सुवान थापा र ११ वर्षीया नातिनी इशीका राईलाई गुमाए । शुक्रबार बिहान साढे २ बजे खसेको पहिरोले पोखरा–१८ सराङकोटको गोठादी गाउँ मृत्युको शोकमा डुब्यो ।
तनहुँको सागे गिरेपानीबाट बिहीबार पिंकीको जन्मदिन मनाउन सरस्वती दुई छोरा शीतल र सन्देशलाई लिएर आएकी थिइन् । चार दिन यतै बस्ने, बहिनी र दिदीका दुई छोरीलाई गाउँमा लिएर जाने योजना थियो उनको । ज्यान गुमाउने सुवान र इशीका हजुरआमा रत्ना थापासँग पछि लागेर पिंकीको घरमा पुगेका थिए । जन्मदिनमा आएका पिंकीकी फुपू चिजा गुरुङ, सुस्मिता गुरुङ, माइलाबुबाको छोरा श्याम थापा, छिमेकी राजेन्द्र थापा भने खानपिन गरेर घर फर्किएका थिए । बाँकी १३ जना दुईवटा कोठामा बाँडिएर सुतेका थिए ।
टिनले छाएको तीनकोठे घरको एउटा कोठामा पिंकीका बुबा, आमा, सरस्वती, उनका दुई छोरा र श्यामका छोरा सुवान सुते । राति ११ बजे पिंकी र उनकी छोरी पिरिसा, पिंकीकी बहिनी आशा, माइलाबुबाको कान्छा छोरा रसी र उनको साथी अनिश तामाङ, साइलाबुबाकी छोरी रश्मिसहित सात जना अर्को कोठामा बसेका थिए । केही बेरमै सबै मस्त निद्रामा परे । एक्कासि चट्याङको आवाजले निद्रा भंग गरिदियो । सरस्वतीले जेठो छोरा १० वर्षीय सन्देश ‘मम्मी, मम्मी’ भन्दै चिच्याएको सुनिन् । दिदी सोममायाले ‘सरस्वती, सरस्वती’ भन्दै कताकता बोलाएको सुनिन् । उनलाई भने केले केले थिचेको जस्तो भयो । ‘यसो आँखा खोलेर हेरेको बाहिर उज्यालो थियो,’ मणिपाल अस्पतालमा उपचार गरिरहेकी उनले भनिन्, ‘माथितिर हेरेको पहिरो खसिरहेको देखें । मैमाथि आकाश खसेजस्तो भयो ।’
पहिरोले १९ वर्षीय रसी र उनका दामली अनिशलाई हुत्याएर मकै बारीमा पुर्‍याएको थियो । हिलैहिलोबाट निस्किएर उनीहरू गुहार माग्न दौडिएका थिए । उनीहरूबाटै थाहा पाएपछि छिमेकी र आफन्त उद्धारमा खटिए । १८ वर्षीया आशाको ओठ, कान र
हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये १९ वर्षीया रश्मी थापा मगरको अवस्था गम्भीर छ । उनको छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ । बाँकीको अवस्था खतरामुक्त छ । घाइतेको उद्धारमा सराङकोटमा रहेको प्रहरी बिटबाट दुई प्रहरी शुक्रबार ४ बजेतिर पुगेका थिए ।

पछि ६ बजे सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा पुगेको थियो । उनीहरूले घटनास्थलबाट पाँच जनाको शव निकाले । घाइते आठ जनामध्ये पिंकीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकीलाई मणिपाल शिक्षण अस्पताल पुर्‍याए । बागलुङ बसपार्कबाट गोठादी जाने बाटोको ३–४ ठाउँमा खसेको पहिरो पन्छाउँदै जानुपरेकाले केही समय लागेको प्रहरीले जनाएको छ ।
घाइते पिंकीको दुईवटै खुट्टा भाँच्चिएको छ भने पाँच वर्षीया छोरी पिरिसाको देब्रे खुट्टा । म्याग्दी घोडेपानीका सन्तोष थापासँग उनको बिहे भए पनि सम्बन्ध धेरै समय टिकेन । घटना थाहा पाएर पनि श्रीमान् भेट्न आएका छैनन् । ‘श्रीमान्ले साथ छोडिहाले, बुबाआमाले पनि संसार छोड्नुभयो,’ भक्कानो छोड्दै उनले भनिन्, ‘अब म कहाँ जाने ?’ ज्यान गुमाएका पाँचै जनाको शुक्रबार नै सामूहिक दाहसंस्कार गरिएको छ ।
शुक्रबार पहिरोले पुरेको घर मोटरबाटोबाट झन्डै डेढ सय मिटर तल पर्छ । १५ किलोमिटर सडकमध्ये आधा यसअघि नै कालोपत्रे भइसकेको छ । चालु आर्थिक वर्षमा हाल पहिरो गएकै स्थान पँधेलीसम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा छ । ठेकेदारले लकडाउनको बहाना बनाउँदै बाटो आधाकल्चो छोडेका छन् । महानगरपालिकाबाट उल्टै म्याद थप गरेका छन् । १५ दिनअघि पनि बाटोमाथि खसेको सानो ढिस्कोले पानी बग्ने नाला र ह्युमपाइप पुरेको थियो । बिहीबार रातिको पानीले बाटोको तलपट्टिबाट उकासेको प्लम्बिङ वाललाई खोतल्दै लगेको र घरमाथि बजारिएको मृतक टंकबहादुरका दाइ शेरबहादुर थापाले बताए । पहिरो हटाउन कसैले वास्ता नगर्दा भाइको परिवारले ज्यान गुमाउनुपरेको उनको भनाइ छ । ‘पर्खालको जग पनि बलियो गरी बनाएको रैन्छ,’ उनले भने, ‘यो ठेकेदारको कमजोरी हो ।’ ठेकेदार कम्पनीले चार महिनाअघि उक्त वाल लगाएपछि बाटो स्तरोन्नतिको अन्य काम गरेको छैन । उक्त बाटोको ठेक्का निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको कम्पनीले पाएको छ । पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले मजदुर अभावमा ठेकेदारले काम अघि बढाउन नसकेको दाबी गरे ।

 

Page 2
समाचार

प्रदेश २ का आठै जिल्ला डुबानमा

- प्रदेश २ ब्युरो

(जनकपुर) - बुधबार रातिदेखिको लगातारको झरीले प्रदेश २ का ठूला नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा पनि वर्षा नरोकिएकाले प्रदेश २ का आठै जिल्ला डुबानमा परेका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका प्रमुखलाई शुक्रबार उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । रौतहट, सर्लाही, महोत्तरी र सप्तरी बाढीको उच्च जोखिममा छन् ।
शुक्रबार विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले बाढीको जोखिम न्यूनीकरणका लागि तयारी बस्न र आवश्यक सामग्री तत्कालै उपलब्ध गराउन सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिए । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।
सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी राजु अर्यालका अनुसार जोखिम क्षेत्रमा सतर्कता अपनाउन उद्धारसहितको छुट्टै टिम पनि परिचालन गरिएको छ । ‘बढी जोखिम क्षेत्र नजिकका पोस्टलाई अलर्टमा राखिएको छ,’ उनले भने, ‘पोहोर जहाँ बढी क्षति पुर्‍यायो, त्यहाँ बढी फोकस गरेर रणनीति बनाइएको छ ।’ गत वर्ष असारको अन्तिम साताको वर्षाले प्रदेश २ का सबै जिल्ला प्रभावित बनेका थिए । तटबन्ध भत्काउँदै बाढी बस्तीमा छिरेपछि जनधनको ठूलो क्षति भएको थियो । प्रदेशका ठूला नदी कमला, वाग्मती, बकैया, रातु, खाँडो र लखनदेहीमा पानीको बहाव तीव्र बनेको छ । प्रदेश १ र २ को सीमाबाट बग्ने कोसी नदी पनि उफानमा छ ।
बिहीबार रातिको वर्षाले रौतहटको चन्द्रपुर–२ स्थित पूर्वपश्चिम राजमार्गको लच्का खण्डमा बाढी पसेपछि शुक्रबार बिहान ४ बजेदेखि सवारी आवागमन प्रभावित भएको छ । बाढीले बगाउने खतराका कारण रोकिएका गाडीलाई सुरक्षाकर्मीले वारपार गराएका छन् । रौतहटको दक्षिणी क्षेत्र डुबानमा पर्ने त्रासमा स्थानीय छन् । पानीको निकास नहुँदा उत्तरी भेगका केही गाउँ पनि डुबानमा परेका छन् । गत असार र साउनमा रौतहटको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो । महोत्तरीका १५ स्थानीय तहमध्ये दक्षिणी भेगका १४ स्थानीय तह उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । उत्तरतर्फको बर्दिवास नगरपालिकामा भने किसाननगर, पशुपतिनगर, विजलपुरालगायतका स्थानमा मात्र बाढी र डुबानको समस्या छ । रातु नदीको डिलमै घर भएका भंगाहा–४ पोका टोलका राजकुमार दासले कतिबेला घर छोडेर भाग्नुपर्छ भन्ने त्रास भएकाले वर्षा लागेपछि रातभरि निद्रा नपरेको बताए ।
जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने अस्थायी बासस्थान पहिचान गरिएको र खोज उद्धारका सामग्री खरिद गरिसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यहाँ १९ हजार ७ सय ८८ घर उच्च जोखिममा छन् । महोत्तरीको रातु, जंगाहा, मराहा, बाँके, बिगही, बक्सीलगायत नदीको बाढीले बर्सेनि जनधनको क्षति पुर्‍याउने गरेको छ ।
अजित तिवारी (जनकपुर), शिव पुरी (रौतहट) र सुनिता बराल (महोत्तरी)

समाचार

गण्डकका १६ ढोका खोलियो

- कान्तिपुर संवाददाता

 

परासी (कास)– नारायणी नदीमा पानीको बहाव बढेपछि शुक्रबार गण्डक ब्यारेजका ३६ मध्ये १६ वटा ढोका खोलिएको छ । २ लाख १५ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव पुगेपछि ब्यारेजका ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकृत तारा सिंहले बताए । ‘पानीको बहाव बढ्दो क्रममा भएकाले ब्यारेजका १६ वटा ढोका खोलिएको हो,’ उनले भने, ‘ब्यारेजका ढोका खोल्ने/नखोल्ने भारतीय पक्षमा निहित छ । पानीको प्रवाहअनुसार क्रमशः थप ढोका खुल्दै जानेछन् ।’
शुक्रबार दिउँसो १०.४५ मिटर पानीको सतह पुगेपछि सम्भावित जोखिम हुने भन्दै ढोका खोलिएको हो । पानीको सहत ११ मिटर
पुगेपछि खतरा मानिन्छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले तटीय क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ । जिल्लामा उद्धार र व्यवस्थापनका लागि सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको छ ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको र खतराको संकेत नजिक पुगेकाले सजग रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । ‘गण्डक ब्यारेजका थप ढोका खोल्नेबारे नेपालका तर्फबाट भूआर्जन अधिकृतमार्फत भारतीय पक्षलाई जानकारी गराइएको छ,’ उनले भने, ‘खतराको लेभलमा पुगेको छैन ।
तर खतरा नजिक भएकाले सबैलाई सजग हुन आग्रह गरिएको हो ।’

 

समाचार

क्षतिप्रति दुःखी छौं : भारतीय दूतावास

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौंस्थित भारतीय दूतावासले सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भारतीय दूतावासले आधिकारिक ट्वीटर ह्यान्डल (इन्डियाइननेपाल) मार्फत शुक्रबार ट्वीट गर्दै भनेको छ, ‘सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुखित छौं । प्रियजनहरू गुमाएका परिवारप्रति समवेदना एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।’

समाचार

साँफेबगर–मार्तडी सडक अवरुद्ध

- कान्तिपुर संवाददाता

बाजुरा (कास)– पहिरोले सडक बगाएपछि बाजुराको अम्कोट–द्वारी क्षेत्रमा चार दिनदेखि साँफेबगर–मार्तडी सडक अवरुद्ध भएको छ । अछामको साँफेबगरबाट ४० किलोमिटर माथि र बाजुरा सदरमुकाम मार्तडीबाट १३ किलोमिटर तलको अम्कोट–द्वारी सडकखण्डको करिब दुई किलोमिटर क्षेत्रको केही भाग पहिरोले बगाएको र सडक भत्किएर चिरा परेकाले आवतजावत अवरुद्ध भएको हो । दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।
बूढीगंगा नदीमा सडकबाट खसेको पहिरो मिसिँदा नदी थुनिएर ताल बन्ने जोखिम देखिएको बूढीगंगा नगरपालिकाकी उपप्रमुख तारा खातीले बताइन् । ‘चार दिनदेखि खसिरहेको पहिरोले नदी थुनिने अवस्थामा पुगेको छ । सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ,’ उनले भनिन् । अम्कोट, बल्दे, ताप्रीसेरा, खालासैन र सेराबगर लगायतका पाँच बस्ती पहिरोको जोखिममा परेको उनले बताइन् । पहिरोकै कारण बूढीगंगा थुनिने खतरासँगै आसपासका बस्ती जोखिममा परेका छन् ।
पहिरो जाने संकेत पहिलेदेखि नै भए पनि बस्ती नै जोखिममा पर्ने गरी गत वर्षदेखि नै पहिरो गएको हो । सडकको दुई किलोमिटरभन्दा बढी क्षेत्रमा गएको पहिरोले अम्कोट, ताप्रीसेरा र द्वारीका स्थानीयको सयौं रोपनी जग्गा नदीमा मिसिएको छ । ‘तत्काल सडक सञ्चालनमा ल्याउने अवस्था छैन । बल्दे–अम्कोट हुँदै रिलासम्म निकास गर्ने वा अन्य विकल्प खोज्ने भन्नेबारे छलफल भइरहेको छ,’ उनले भनिन् ।
बाटो अवरुद्ध भएर रोकिएका बडीमालिका नगरपालिका–६ का शेरबहादुर बडुवालले धनगढीबाट आएको गाडी यही छोडेर फर्किएकाले पसलका लागि ल्याएको सामान सदरमुकाम पुर्‍याउन नपाएर राति पनि सडकमै कुरेर बस्नुपरेको बताए । ढुवानी अवरुद्ध भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको बाजुराका व्यवसायी सन्तोष गिरीले बताए ।
पहिरो गएका ठाउँ छेउछाउ सुरक्षाकर्मी परिचालन गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । ‘पहिरोले द्वारीमा एक घर बगाएको छ । थुप्रै बस्ती जोखिममा छन्,’ उनले भने, ‘अन्य क्षेत्रबाट सडक लैजानुपर्ने भएकाले विकल्प अहिले नै केही छैन ।’ पहिरो जान थालेपछि अम्कोट क्षेत्रमा सुरक्षाका लागि प्रहरीको बिट स्थापना गरिएको छ । सामान्य पहिरो पन्छाउन पहिले डोजर, एक्स्काभेटरहरू स्ट्यान्डबाइ राखिएको थियो । तर, यस पटक ठूलो पहिरो गएकाले यातायात सुचारु हुन अझै ३/४ दिन लाग्ने सक्ने प्रजिअ गैरेले बताए ।

 

Page 3
समाचार

पीसीआर परीक्षण शुल्क अत्यधिक महँगो

- स्वरूप आचार्य,मकर श्रेष्ठ

(काठमाडौं) - स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पहिचानका लागि गरिने पीसीआर परीक्षणको शुल्क धेरै महँगो निर्धारण गरेको पाइएको छ । पीसीआर गर्न चाहिने सामानको बजार मूल्य, बत्ती, पानी, कर्मचारीको पारिश्रमिक जोड्दा पनि सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ शुल्क बढी हुन्छ । सरकारले पछिल्लो समय टेन्डरमार्फत खरिद गरेको पीसीआर किट, आरएनए एक्स्ट्र्याक्टर तथा भीटीएमको मूल्यलाई नै आधार मानेर हिसाब गर्दा अहिलेको शुल्क दोब्बर छ ।
स्वास्थ्य सेवा विभागले १ लाख ५० हजार पीसीआर किट तथा आरएनए एक्स्ट्र्याक्टर तथा १ लाख ७० हजार थान भीटीएमका लागि आह्वान गरेको टेन्डरमा विभिन्न कम्पनीले कबुल गरेको मूल्यलाई नै आधार मान्ने हो भने एउटा पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँभन्दा बढी पर्दैन । उक्त मूल्यमा अन्य व्यवस्थापकीय खर्च समावेश गर्दासमेत एउटा परीक्षणको तीन हजार रुपैयाँभन्दा बढी नपर्ने देखिन्छ । विश्व बजारमा विभिन्न कम्पनीले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट, आरएनए एक्स्ट्र्याक्टर तथा भीटीएम उत्पादन गर्न थालेसँगै मूल्यमा गिरावट आएको छ । ‘सरकारले निर्धारण गरेको ५ हजार ५ सय रुपैयाँ शुल्क
देशमा भर्खर कोरोना देखिएका बेला त ठीकै हो । अहिले धेरै भयो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने, ‘यस्तो बेला नाफा राखेर शुल्क निर्धारण गर्नु ठीक होइन ।’
विभागले जेठ ११ मा निकालेको बोलपत्रमा १४ वटा सप्लायर्सले आवेदन दिएकामा पीसीआर रिएजेन्टको मूल्य सबैभन्दा बढी चीनको ‘दा एन जिन’ ले १ हजार ४ सय ८० रुपैयाँ प्रस्ताव गरेको छ भने सबैभन्दा कम ‘सांघाई जेडएल बायोटेक’ ले ८ सय रुपैयाँ राखेको छ । यस्तै आरएनए एक्स्ट्र्याक्सनमा सबैभन्दा बढी मूल्य ‘सांघाई जेडएल बायोटेक’ कम्पनीको ४ सय रुपैयाॅँ छ भने सबैभन्दा कम चीनकै ‘हुनान रुनमेई जिन’ ले उत्पादन गरेको आरएनए एक्स्ट्र्याक्सनको मूल्य १ सय ९५
रुपैयाँ छ ।
प्रस्तावमा आरएनए एक्स्ट्र्याक्सनको मूल्य औसतमा ३ सय २९ मात्रै छ भने पीसीआर रिएजेन्टको औसत मूल्य पनि १ हजार १ सय २६ रुपैयाँ छ । यस्तै विभागले खरिद गरेको भीटीएमको मूल्य मात्रै १ सय ७० रुपैयाँ छ । विभागले भीटीएम खरिद गर्नका लागि निकालेको बोलपत्रमा २० वटा सप्लायर्सले आवेदन दर्ता गराएका थिए । जसमा चिनियाँ कम्पनी ‘हाङजाउ बायोर टेक्नोलोजी’ को भीटीएमको सबैभन्दा कम १९ रुपैयाँ मात्रै प्रस्ताव गरिएको थियो भने सबैभन्दा बढी भारतीय कम्पनी ‘भ्यानगार्ड डायग्नोस्टिक’ को २ सय ८८ रुपैयाँ प्रस्ताव गरिएको थियो । ती प्रस्तावलाई आधार मान्दा एउटा भीटीएमको औसत मूल्य करिब २ सय ७ रुपैयाँ मात्रै पर्ने देखिन्छ ।
पीसीआर परीक्षणका लागि आवश्यक पर्ने मुख्य सामग्री आरएनए एक्स्ट्र्याक्सनमा औसत ३ सय २९, पीसीआर रिएजेन्टमा औसत १ हजार १ सय २६ रुपैयाँ र भीटीएममा औसत २ सय ७ रुपैयाँ गरी १ हजार ६ सय ६१ रुपैयाँ मात्रै पर्छ । त्यसमा पीसीआर मेसिन, एक्स्ट्र्याक्सन मेसिन, बायोसेफ्टी क्याबिनेट, अटोक्लेभ मेसिन, पीपीई, मानव संसाधन तथा अन्य व्यवस्थापकीय खर्चसमेत जोड्ने हो भने एउटा पीसीआर परीक्षण गर्न तीन हजार रुपैयाँमा सजिलै परीक्षण गर्न सकिने विज्ञहरू बताउँछन् ।
अन्य ल्याबले लिनेभन्दा सस्तोमा पीसीआर गर्न तयारी गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालका निर्देशक डा. सागर राजभण्डारीले बताए । ‘ल्याबमा काम गर्नेलाई थप भत्तासमेत दिनुपर्ने भएकाले चार हजारसम्ममा परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘बजेट सुनिश्चित भएपछि सस्तोमा पीसीआर गर्न
अनुमति लिन्छौं ।’
मोलिक्युलर प्रयोगशालाका एक विज्ञ चिकित्सकका अनुसार नयाँ प्रयोगशाला स्थापना गर्ने हो भने पनि सबै खर्च जोड्दा करिब ६० लाख रुपैयाँ खर्च हुन्छ । ‘सरकारले नै पीसीआर परीक्षण गर्न किनेका सामग्रीको मूल्य १ हजार ६ सय ६० रुपैयाँ हाराहारी मात्रै छ । त्यसमा पीपीईको मूल्य जोड्ने हो । एक सय परीक्षण गर्न एउटा मात्रै पीपीई लाग्छ । त्यो भनेको एउटा परीक्षण गर्नका लागि पीपीईको मूल्य बढीमा ३५ रुपैयाँ हो,’ उनले भने ।
ती विज्ञले विश्व बजारमा हरेक दिन पीसीआर किट, पीपीईलगायतका सामग्रीको मूल्यमा गिरावट भइरहेकाले ३ हजार रुपैयाँमा सजिलै परीक्षण गर्न सकिन्छ । ‘पानी, बत्ती, मानव संसाधन लगातमा हुने खर्च जोड्दा पनि धेरै पर्दैन । त्यसमा पनि सरकारले नमुना प्रयोगशालासम्म नै पुर्‍याइदिने भनेको छ,’ उनले भने, ‘अझ सबै मापदण्ड पुर्‍याउने प्रयोगशालालाई परीक्षणका लागि खुला गर्ने हो भने परीक्षण गराउनेको संख्या धेरै हुन्छ । यस्तोमा परीक्षण शुल्य झनै तल झर्छ ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि केही साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जति धेरै परीक्षण गर्‍यो परीक्षण शुल्क पनि त्यति नै कम हुँदै जाने बताएकी थिइन् । ‘एक जना मात्रै ट्याक्सी चढेर भक्तपुर गइयो भने कति पर्छ ? त्यसमा ४ जना चढेर गइयो भने एक जनाको भागमा कति पर्छ ?
पीसीआर परीक्षणको शुल्क पनि त्यस्तै हो,’ उनले
भनेकी थिइन् ।
उनले त्यतिबेला दिएको जानकारीअनुसार सबै हिसाब गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने एउटा परीक्षणको खर्च तीन हजारदेखि बढीमा ३५ सयसम्म मात्रै पर्छ । ‘मैले मन्त्रालयमा जे जानकारी गराएकी थिएँ कुरा त्यही नै हो,’ उनले भनिन्, ‘अहिले तोकिएको मूल्य अन्तरिम हो । मन्त्रालयले बेठीक लागे कुनै पनि बेला यसमा पुनरावलोकन गर्न सक्छ ।’
पहुँच बाहिर परीक्षण
सरकारले महँगो शुल्क निर्धारण गरेकाले पीसीआर परीक्षण सर्वसाधारणको पहुँच बाहिर गएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार पीसीआर परीक्षणमा बढी नाफा हुने भएपछि केही प्रयोगशाला परीक्षणको अनुमति प्राप्त गर्नका लागि दौडिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पीसीआर परीक्षण शुल्क घटाउन जरुरी रहेको बताए । ‘कोरोना संक्रमितको उपचार खर्चलाई अवैज्ञानिक रूपमा घटाउन हुने तर परीक्षण शुल्क लागतभन्दा दोब्बर कायम नै राख्नुपर्ने किन ? यसको अनुसन्धान हुन जरुरी छ,’ उनले भने । एक निजी प्रयोगशाला सञ्चालकका अनुसार भने सरकारले तोकेको शुल्क सरकारी प्रयोगशालाका लागि महँगो देखिए पनि निजीका लागि महँगो होइन । ‘सरकारी प्रयोगशालामा अनुदानकै सामग्री पनि आउँछन् । त्यसमा पनि अन्य सबै पैसा सरकारकै हो । कर पनि लाग्दैन,’ उनले भने, ‘हामीले त कर्मचारीदेखि सबैको हिसाब गर्नुपर्छ । त्यसमा पनि दिनमा कति परीक्षण हुन्छ भन्ने ग्यारेन्टी नै हुन्न । एक जना बिरामी भए पनि परीक्षण गर्नैपर्छ । त्यसैले निजीका लागि त महँगो होइन ।’ उनका अनुसार सरकारले टेन्डरबाट र निजी अस्पतालले मूल्यभन्दा पनि गुणस्तर हेरेर सामग्री खरिद गर्ने भएकाले पनि प्रतिपरीक्षण ५ हजार ५ सय रुपैयाँ महँगो होइन ।
मोलिक्युलर प्रयोगशालाका विज्ञ चिकित्सकका अनुसार कोरोनाको पीसीआर परीक्षण अब केही समयमा सबैले अस्पताल गएपछि गर्नैपर्ने प्रोटोकल जस्तै हुन्छ । विदेश जानेलाई त यो अनिवार्य नै हुन्छ । त्यसैले केही प्रयोगशाला कमाउने सुरमा पनि लागेका छन् । ‘सरकारले पुल टेस्टिङ र व्यक्तिगत परीक्षण दुवैथरीका लागि प्रोटोकल बनाएर मात्रै निजी प्रयोगशालालाई सार्वजनिक रूपमा परीक्षण गर्ने अनुमति दिनुपर्छ,’ विज्ञ चिकित्सकले भने ।
पीसीआरको शुल्क सस्तो भए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा दैनिक एक हजारको संख्यामा पुग्ने सर्वसाधारणको संख्यामा समेत कमी आउने अस्पतालका निर्देशक डा. राजभण्डारी बताउँछन् । अहिले विभिन्न जिल्लाबाट उपत्यका फिरेकाहरू घरबेटीले घरमा छिर्न नदिएको भन्दै टेकुमा पीसीआर परीक्षणका लागि पुग्ने गरेका छन् । अस्पतालले भने संक्रमितको सम्पर्कमा रहेका, लक्षण देखिएकालाई मात्रै पीसीआर गराउने गरेको छ । ‘सस्तोमा गर्ने हो भने यसरी घन्टौं लाइन लाग्नुभन्दा पायक पर्ने स्थानमा पैसा तिरेर परीक्षण गराउने थिए,’ डा. राजभण्डारीले भने ।
निजीले बिरामीको परीक्षण गर्न पाउँदैनन्
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुइटा निजी अस्पताल, प्रहरी अस्पताल र एउटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने अनुमति पाएका छन् । अनुमति पाएका निजी अस्पतालले भने आफूकहाँ आइपुगेका बिरामीको नमुना परीक्षण गर्न पाउँदैनन् । उनीहरूले स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने नमुना मात्रै परीक्षण गर्छन् । ‘सबै मापदण्ड पूरा छ । त्यही कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गरेर परीक्षणको अनुमति दिएको हो । तर आफ्नै नमुना आफैं जाँच गर्न पाइँदैन रे,’ एक निजी अस्पतालका सञ्चालकले भने, ‘सरकारले उपलब्ध गराएको नमुना मात्रै जाँच गर्नुपर्ने भए हामीले प्रयोगशाला सञ्चालन गरेको के अर्थ ?’ सरकारी प्रयोगशालाले परीक्षण गर्नका लागि नभ्याउने भए मात्रै नमुना दिने भएकाले निजी प्रयोगशाला उत्साहित छैनन् । ‘एकातर्फ आफ्नै अस्पतालको बेडमा लडिरहेको बिरामीको नमुना अन्त पठाउनुपर्छ । अर्कोतर्फ कहिले सरकारले नमुना देला र परीक्षण गरुँला भनेर कुरेर बस्नुपर्ने । यो व्यावहारिक भएन,’ ती अस्पतालका सञ्चालकले भने, ‘बरु परीक्षण शुल्क के कति हुने निर्धारण गरोस् । समय समयमा अनुगमन गरोस् । तर हामीले आफ्ना बिरामीको उपचार उचित ढंगबाट त गर्न पाउनुपर्‍यो ।’
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि पीसीआर परीक्षणको अनुमति प्राप्त गरेका निजी अस्पताललाई आफ्ना बिरामीको परीक्षण गर्न छुट दिन जरुरी रहेको बताए । ‘आफ्नै प्रयोगशालामा अन्यत्रका बिरामीको परीक्षण गरेर रिपोर्ट दिने तर आफ्नो अस्पतालमा भर्ना भएका बिरामीको परीक्षणका लागि नमुना अन्यत्र पठाएर कुरेर बस्नुपर्ने त व्यावहारिक होइन,’ उनले भने, ‘बरु परीक्षणको शुल्क अझै घटाउन सकिन्छ । अनुमति दिनु नै ठीक हुन्छ ।’
निजीलाई परीक्षणको अनुमति दिनका लागि मापदण्ड बनाउन सक्रिय रहेका एक विज्ञ चिकित्सकका अनुसार निजी अस्पतालका प्रयोगशालाले परीक्षणको मापदण्ड पूरा गरे आफ्ना बिरामीको परीक्षण गर्न सक्ने गरी सुझाव दिइएको थियो । ‘तर मापदण्ड जारी हुँदा निजी अस्पतालका प्रयोगशालाले सरकारले उपलब्ध गराएको नमुना मात्रै जाँच्न पाउने व्यवस्था गरिएछ । त्यो गलत र अव्यावहारिक हो,’ उनले भने ।
प्रदेशका अस्पतालमा पनि शुल्क तिरेर परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका सरकारी अस्पताललाई पनि कोरोना भाइरसको पीसीआर परीक्षणका लागि निर्धारित शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको छ । प्रदेश १ को कोसी अस्पताल, प्रदेश २ को नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ को लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला, धनगढीले अनुमति पाएका हुन् ।
काठमाडौं उपत्यकाका त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, वीर अस्पताल तथा पाटन अस्पतालमा पनि ५ हजार ५ सय रुपैयाँ तिरेर इच्छुक व्यक्तिले आफ्नो परीक्षण गराउन पाउँछन् । ती प्रयोगशालाले कुल नमुनामध्ये २५ प्रतिशत मात्रै शुल्क लिएर परीक्षण गर्नुपर्नेछ ।

समाचार

सार्वजनिक सवारी चले संक्रमण ‘भयावह’

- अतुल मिश्र

(काठमाडौं) - यथास्थितिमा सार्वजनिक सवारीसाधन चलाउँदा राजधानीमा कोभिड–१९ को संक्रमण भयावह हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालनले संक्रमण विस्तारमा मलजल गर्ने र स्थिति नियन्त्रणबाहिर जान सक्ने उनीहरूले बताएका छन् ।
केही सातायता काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ थपिँदै छ । शुक्रबारसमेत उपत्यकामा ४२ जना नयाँ संक्रमित फेला परेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले राजधानीमा सार्वजनिक सवारीसाधन खुलेपछि संक्रमण विस्तार बढी हुने बताए । ‘काठमाडौं कोरोनाको हटस्पट बन्नतर्फ उन्मुख रहेका बेला सरकारले केही नियम बनाएर सार्वजनिक सवारीसाधन खोल्ने निर्णय गरेको छ जुन जनस्वास्थ्यका दृष्टिले गलत छ, यसले कोरोना संक्रमण विस्फोट हुन्छ,’ उनले भने, ‘हालसम्म जतिसुकै गाइडलाइन, नियम बनाए पनि कसैले पालना गरेको देखिएन ।’
वीर अस्पतालमा कार्यरत डा. भूपेन्द्र बस्नेतले सम्भावित संक्रमणको विस्तार रोक्न राजधानीकेन्द्रित रणनीतिसमेत आवश्यक रहेको बताए । ‘जनघनत्वको दृष्टिले सबैभन्दा बढी कोरोना संक्रमण विस्तारको जोखिममा उपत्यका छ । यहाँ कोरोनाका केस दिनहुँ बढिरहेकाले नयाँ खालको लकडाउन साउन महिनाभरि चाहिन्छ,’ उनले भने, ‘अहिले सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिनु अत्यन्त घातक हुन्छ, राजधानीमा संक्रमण समुदायमा गयो भने त्यो अत्यन्त ठूलो विपद् हुनेछ ।’ पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले सार्वजनिक सवारीसाधन सुरक्षा उपाय अपनाएर खोल्नुपर्ने र यसको कडाइका साथ अनुगमन हुनुपर्ने बताइन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत कोरोना संक्रमण हावाबाट फैलिन सक्ने संकेत गरिसकेकाले सार्वजनिक सवारीसाधन सञ्चालनले जोखिम बढाउने विज्ञहरूको भनाइ छ । सार्वजनिक सवारीसाधन चलेपछि जतिसुकै प्रयास गरे पनि कोरोना संक्रमणको विस्तारलाई रोक्न नसकिने उनीहरूको भनाइ छ ।
चिकित्सक संघका अध्यक्ष डा. कार्कीले अझै कम्तीमा एक महिना सार्वजनिक सवारीसाधन बन्द हुनैपर्ने बताए । ‘हाल राजधानीमा चलिरहेका अफिस, रेस्टुरेन्ट आदिमा स्वास्थ्य सुरक्षाको अवस्था हेर्दा आङ सिरिंग हुन्छ,’ उनले भने, ‘हावाबाट कोरोना सर्ने जोखिमबारे समेत कुरा आएको छ । स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. पद्मबहादुर चन्दले सार्वजनिक सवारीसाधन सञ्चालनलाई सरकारले हल्का रूपमा लिन नहुने बताए ।

समाचार

कतारबाट सिधै क्वारेन्टाइनमा

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– कतारबाट फर्किएका १ सय ४९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा पुर्‍याइएको छ ।
एक बालिका र ६ महिलासहित १ सय ४९ नेपाली कामदार शुक्रबार कतार एयरवेयजमार्फत त्रिभुवन विमानस्थल आइपुगेका थिए । उनीहरूमध्ये केहीलाई कोरोना भाइरस संक्रमणको शंका लागेपछि ‘होल्डिङ सेन्टर’ नलगी सिधै क्वारेन्टाइन पुर्‍याइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
उनीहरूलाई विमानस्थलबाट नेपाली सेना र नेपाल प्रहरीको एस्कर्टिङमा सेनाको ९ वटा बसमार्फत क्वारेन्टाइन पुर्‍याइएको हो । क्वारेन्टाइनमा खाने–बस्ने व्यवस्था, व्यक्तिगत रेकर्ड राख्नेलगायतको काम सेनाले गर्दै
आएको छ ।

समाचार

‘छिनछिनमा दुर्व्यवहार सहनुपर्‍यो’

- कान्तिपुर संवाददाता

विदेशबाट यात्रु ल्याएपछि हामी सोल्टी होटलको क्वारेन्टाइनमा बसेका थियौं । पीसीआर गर्दा नौ जनालाई पोजिटिभ देखियो । २३ गते २ बजेतिर हामीलाई एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगियो । महिला र पुरुष राख्ने भवन फरक–फरक रहेछ । एम्बुलेन्सबाट परै झारेर कोठामा पठाइयो । तर, कोठा र उपचारका बारेमा जानकारी दिन कोही आएनन् ।
कोरोना संक्रमित भएको थाहा पाएदेखि हामी सबै तनावमा थियौं । कोठामा पुगेपछि त खङ्ग्रङ्गै भयौं । त्यहाँको दृश्य देखेर अत्यास लाग्यो, सास फेर्नै गाह्रो भयो । कोरोना निको भए पनि अरू रोगले समाउला भन्ने डर लाग्यो । त्यहाँको भिडियो र तस्बिरहरू खिचेर आफन्त र साथीहरूलाई पठायौं । त्यहाँ एक रात एक दिन बिताउँदा एक वर्ष बसेजस्तै लाग्यो । २४ गते राति १० बजे हामी त्यहाँबाट
बाहिरियौं । अहिले धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत छौं ।
एपीएफ अस्पतालमा ट्वाइलेट प्रयोग गर्न नसकिने अवस्थाको थियो । खाना त कुकुरलाई जसरी दिइन्थ्यो । माइकिङ गरेर बाटोमा खाना छाडिन्थ्यो । कुकुरलाई पनि यसरी दिइँदैन । माइकिङ गर्दा भनिन्थ्यो, ‘तपाईंहरूको खाना बाहिर बाटोमा छ । लिन आउनुस् । नत्र कुकुरले खाइदिन्छ ।’ पटक–पटक यस्तो कुरा सुन्दा मन खिन्न हुन्थ्यो ।
कोरोना लाग्यो भनेपछि समाजले हेर्ने साँघुरो दृष्टिकोण त छँदै छ, आइसोलेसनमा बस्दा हुने व्यवहारले झन् डिप्रेसनमै पुर्‍याउने रहेछ । यसअघि बसेकाहरूले यस्तो व्यवहारप्रति किन कम्प्लेन नगरेका होलान् ? त्यहाँको व्यवहारले कुनै पनि एंगलमा संक्रमितको मनोबल उच्च हुँदैन, सजाय दिन राखेजस्तो लाग्छ । २४ घण्टाभन्दा बढी अस्पताल बस्दा हाम्रो स्वास्थ्य अवस्थाबारे बुझ्न कोही आएनन् । कोठामा थुन्ने हो भने किन त्यहाँ लैजानु ? घरमै राखे भइहाल्यो नि ! संक्रमितलाई गर्ने व्यवहार र बोलीको त कुरै नगरौं । संघीय सरकारले व्यवस्थापन गरेको काठमाडौंकै आइसोलेसनको हालत त त्यस्तो छ भने गाउँका आइसोलेसनहरूको अवस्था के होला ? संक्रमित त्यत्तिकै भागेका र सुसाइड गरेका होइन रहेछन् ।
आइसोलेसनमा राखेको २४ घण्टासम्म सोधपुछ गर्न कोही आएनन् । उपचार कसरी हुन्छ, जानकारी दिइँदैन । छिनछिनमा दुर्व्यवहार मात्रै सहनुपर्छ । कुकुरलाई जस्तो बाटोमै खाना छाडिन्छ, जुन खाना खाएर इम्युनिटी पावर बढाउनुपर्ने हुन्छ ।
बारम्बार स्वास्थ्य परीक्षण हुने र आफ्नो स्वास्थ्यको अपडेट थाहा हुने हो भने मानसिक रूपमा पनि आफू स्वस्थ भएको थाहा पाइन्छ । अनि पो मनोबल उच्च हुन्छ तर एपीएफ अस्पतालमा यो कुनै पनि सुविधा छैन ।
यतिसम्म कि एउटा भवनमा एउटा मात्रै पानीको जार राखिँदो रहेछ । त्यो घरमा संक्रमित भनेर राखिएका सबैले त्यही जारको पानी सारेर खानुपर्ने । पानी सार्नका लागि अरूले प्रयोग गरिसकेको एउटा बोतल हरेक संक्रमित जानेबित्तिकै बाटोमै राखिदिएका हुन्छन् । त्यही बोतलमा पानी सारेर खानुपर्ने । हामीले त भोलिपल्टसम्म पानी पनि खाएनौं । ओढ्ने कालो कम्बल, तन्ना र सिल तोडिएको मास्क बाटोमै राखिएको थियो । एउटा फ्ल्याटमा बस्नेका लागि पानी तताउने भाँडो थियो, जुन निकै दिनदेखि सफा गरिएको थिएन । यो त भयो अस्पताल जाँदा हामीलाई दिइएका सामानको कुरा । त्यहाँ बस्दा हुने दुर्व्यवहार त बयान गरिसाध्य छैन । बाहिर निस्कँदा भित्र जानुपर्‍यो र केही सामान तल झार्नुपर्‍यो भने सातै उड्ने गरी थर्काउँछन् । अस्पताल पुग्ने संक्रमितले मीठो–मसिनो व्यवहारको अनुभव गर्नै पाउँदैनन् ।
यो सबै कुरा सहन नसकेर हामी ९ जना २४ गते राति नै ह्याम्स अस्पताल आयौं । हामी कसैलाई पनि कोरोनाको लक्षण छैन । यहाँ आएपछि स्वास्थ्यकर्मीले राम्रो व्यवहार गरेका छन् । दिनमा तीनपटक ज्वरो र प्रेसर जाँच्छन् । केही समस्या छ कि भनेर सोध्छन् । पीपीई लगाएर हाम्रो छेउमै आएर बोल्छन् ।
यसको उल्टो एपीएफ अस्पतालमा एक किलोमिटर टाढा बसेर माइकिङ गरेर थर्काउँथे । छेउमा त के, कोठामा समेत कोही फर्केर आएनन् । ह्याम्स आएपछि चाहिँ कोरोना निको हुन्छ, अरू रोग पनि सर्दैन भन्ने विश्वास पलाएको छ । अब केही हुन्न भनेर ढुक्क भएका छौं ।
(मकर श्रेष्ठसँगको कुराकानीमा आधारित)

समाचार

'अस्पतालको व्यवस्थापन हाम्रो होइन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले एपीएफ अस्पताल कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको र यहाँको सबै व्यवस्थापन मन्त्रालयबाटै हुँदै आएको बताए । ‘एपीएफ अस्पतालको व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका र जिम्मेवारी छैन, उपचारमा मात्रै हाम्रो टिम सेना, प्रहरी, निजामतीसँगै एकीकृत रूपमा खटिएको छ । यसको समग्र व्यवस्थापन मन्त्रालयबाटै भइरहेको छ,’ उनले भने ।
यसैबीच, सशस्त्र प्रहरी मुख्यालयले पाइलटहरू अन्यत्रै गएकोबारे स्पष्ट विवरणसहित लिखित जानकारी गराउन एपीएफ अस्पताल प्रशासनलाई निर्देशन दिएको छ ।

Page 4
समाचार

थप संवाद गर्न एक साता

- कान्तिपुर संवाददाता

(काठमाडौं) - अध्यक्षद्वयबीच कुरा नमिलेपछि नेकपा स्थायी कमिटी बैठक सात दिन पर सरेको छ । बारम्बार एक्लाएक्लै र ‘दूत’हरूमार्फत गरिएका छलफलले खास आकार ग्रहण गर्न नसकेपछि बैठक सार्नुपरेको नेकपा स्रोतको भनाइ छ । ‘अध्यक्षद्वयले
बारम्बार छलफल गर्दा पनि कुरा मिल्न नसकेपछि सहमतिका लागि बैठक सार्नु उत्तम विकल्प देखियो,’ प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘सहमति नहुँदासम्म बैठक जति पनि लम्बिन सक्छ ।’
गत असार १४ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन चाहेको र त्यसमा पार्टीभित्रकै नेताहरूको संलग्नता रहेको बताएपछि बैठकको एजेन्डा नै बदलिएको थियो । १६ र १७ गते बसेको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांश नेताले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । पार्टीभित्रैबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री ओली दबाबमा परेका थिए । त्यसपछि नेकपाले स्थायी कमिटी बैठक रोकेर अध्यक्षद्वयबीच संवादको सिलसिला सुरु भएको थियो । तर तीन दिनसम्म घण्टौं भएको छलफलले पनि निकास दिन नसकेपछि दुई दिनको भाका राखेर चारपटक बैठक स्थगित भइसकेको थियो ।
शुक्रबार बस्ने भनिएको बैठक भने बाढीपहिरो र कोरोना संक्रमणको दर बढिरहेकाले पार्टीका नेता–कार्यकर्ता उद्धार तथा राहतका निम्ति खटिनुपर्ने भएकाले रोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘देशभर भइरहेको अतिवृष्टि र सिन्धुपाल्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने काममा लाग्न पार्टीका तर्फबाट निर्देशन दिइएको छ, त्यसकै लागि बैठक पनि एक साता पर सारिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
यो बीचमा सहमतिका लागि अध्यक्षद्वयले संवाद भने जारी राख्ने उनले बताए । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि अध्यक्षद्वय र सहमतिका लागि संवाद जारी राखेका अरू नेताहरूले साता दिनलाई सदुपयोग गर्नुपर्ने बताए । ‘यो अवस्थामा अध्यक्षद्वयलाई केही समय प्राप्त भएको छ, उहाँहरू र पार्टीले यो समयलाई सक्दो सदुपयोग गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ,’ नेता नेम्वाङले कान्तिपुरसँग भने, ‘हामीले दुवै अध्यक्षलाई पार्टी एकता नटुट्ने गरी संवाद र एकता झन् बलियो हुने गरी सहमति गर्नुस् भनेर सुझाव दिएका छौं ।’
नेतृत्वलाई दबाब दिन हस्ताक्षर संकलन
पार्टीको शीर्ष नेतृत्व फुटको दिशामा गएको भन्दै सत्तारूढ नेकपाका सांसदहरूले हस्ताक्षर संकलन अभियान थालेका छन् । पार्टी एकतालाई सुदृढ र जनतामाझ गरेका वाचा पूरा गर्नुपर्ने भन्दै अभियान थालिएको हो ।
शुक्रबारसम्म प्रतिनिधिसभाका २८ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेका छन् । पार्टी विभाजन गर्ने पक्षमा आफूहरू नलाग्ने भन्दै उनीहरू अपिल जारी गरेर अभियानमा जुटेका हुन् । अपिलमा शीर्ष नेताहरूबीच जारी शक्ति संघर्षले पार्टी एकता विग्रहमा जाने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिँदा उत्पन्न भएको पछिल्लो मतभेदले पार्टी विभाजनतिर जान लागेको हो कि भन्ने बुझाइ अभियान चलाइरहेका सांसदहरूको छ । समाजको प्रगतिशील रूपान्तरण, राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माण र समाजवादको दिशामा जानुको सट्टा शक्तिका लागि पार्टीका नेताहरूबीच अन्तरविरोध चलेको र त्यसमा आफूहरू कुनै पनि हदमा नजाने ती सांसदहरूको भनाइ छ ।
हस्ताक्षर संकलन अभियानमा अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपाल पक्षका सांसद छन् । कृष्णप्रसाद दाहाल, सुरेश राई, गणेश पहाडी, रामकुमारी झाँक्री, समिना हुसेन, लक्ष्मी चौधरी, इन्दु शर्मा, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवारलगायत सांसदले उक्त अपिलमा हस्ताक्षर गरेका छन् । सांसद सुनुवारले अभियानमा स्थायी कमिटी सदस्य र मन्त्रीलाई सहभागी नगराइएको बताए । ‘पार्टी एकताका लागि दबाब अभियान जारी छ । सबै सांसद सहभागी हुनुहुन्छ । बाँकी कुरा आइतबार सार्वजनिक गर्छौं,’ उनले भने । सांसद झाँक्रीले पार्टीको निर्माण कसैको सनकबाट नभई नेता र कार्यकर्ताको योगदान र बलिदानबाट भएकाले एकताका लागि दबाब दिने अभियान चलाएको बताइन् । ‘हामीले यो अभियान कसैलाई सरकारबाट हटाउन, कसैलाई सरकारमा जान र पार्टी फुटाउन चलाएका होइनौं,’ उनले भनिन् ।
अभियानप्रति ओली पक्ष भने सशंकित बनेको छ । हस्ताक्षर अभियान रोक्न र आफू पक्षका सांसदलाई त्यसमा सहभागी नहुन ओली पक्षले दबाब दिइरहेको सांसदहरूले बताएका छन् । अभियानमा ओली पक्षका भनेर चिनिएका कृष्णप्रसाद दाहाल, दाहाल पक्षका सुरेश राई र नेपाल पक्षबाट यज्ञराज सुनुवारले नेतृत्व गरिरहेका छन् । सांसद दाहाललाई ओली पक्षले अभियान स्थगित गर्न दबाब दिएको स्रोतको भनाइ छ । पार्टीभित्र विवाद बढेका बेला संकलन भइरहेको हस्ताक्षर भविष्यमा दुरुपयोग हुने ओलीनिकट नेताहरूको आशंका छ । ‘संसदीय राजनीतिको अभ्यासमा सबै कुरा भनेर गरिँदैन । खाली पानामा गरिएका हस्ताक्षर भोलिका दिनमा दुरुपयोग हुन सक्छ भनेर सांसदहरूलाई सचेत गराएका मात्रै हौं,’ ओलीनिकट एक सांसदले भने ।
अभियानमा सहभागी सांसदले प्रधानमन्त्री ओलीको पक्षमा सडक र सामाजिक सञ्जालमा भइरहेका गतिविधि रोक्नुपर्ने र त्यसरी नेता विशेषका पक्षमा हुने गतिविधिमा संलग्न नहुने भन्ने आशयको प्रतिबद्धता चलाएका छन् । तर, सडकमा भइरहेका नाराबाजी र प्रदर्शन रोक्ने एवं सामाजिक सञ्जालमा ओलीका पक्षमा र अन्य नेताको विरोधमा भइरहेका नेकपाका कार्यकर्ताका प्रस्तुतिलाई पनि रोक्ने निर्णय बालुवाटारमा भइसकेकाले यस्तो हस्ताक्षर अभियान रोक्नुपर्ने ओलीनिकट नेताले जानकारी दिए ।
अभियानमा संलग्न सांसदहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवास पुल्चोकमा भेला भएका थिए । उक्त भेलामा राष्ट्रिय सभामा सत्तारूढ दलका सचेतक रहेका खिमलाल भट्टराई पनि सहभागी थिए । तर, सहमतिविपरीत खुलेर मन्त्री गुरुङले ओलीको पक्ष लिएको र भट्टराईले पनि त्यस्तै गरेको भन्दै उनीहरूलाई यो अभियानमा संलग्न गराइएको छैन । त्यसैले पनि हस्ताक्षर संकलन अभियानमा ओली पक्षले आशंका व्यक्त गरेको हुन सक्ने अभियानमा संलग्न सांसदको भनाइ थियो ।

समाचार

‘स्वाभिमान उँचो बनाउन हदैसम्म प्रयास हुनेछ’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न हदैसम्म प्रयास गर्ने बताएका छन् । पार्टीभित्रको विवादका कारण ओलीको सत्ता नै धरापमा रहेको सन्देश बाहिर गएका बेला उनले बुधबार प्राकृतिक विपत्तिका सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजनीतिक विषय पनि बोलेका हुन् ।
पार्टीभित्रको विवाद मिलाउन स्थायी कमिटीको बैठक एक साताका लागि सारेपछि शुक्रबार साँझ टेलिभिजनमार्फत सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भने, ‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’
आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्ने ओलीले उल्लेख गरेका छन् । ‘मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन ।’ अहिलेका राजनीतिक विषय र सन्दर्भमा जनताको ध्यान तानिएको र यस्तो महामारी र विपत्तिका समयमा राजनीतिक बहस किन भन्ने प्रश्न उठाइरहेको पनि ओलीले उल्लेख गरे । तर यस्तो विवाद र बहस दलले नै मिलाउने क्षमता राख्ने पनि उनले बताए । ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्,’ उनले भने, ‘त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो ।’ ओलीले पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिलाई नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया भनेका छन् । ‘यस्ता विषय सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्य र संयम आवश्यक हुन्छ,’ उनले भने । उनले रोग र भोकबाट जोगाउने दायित्व सरकारको रहेकाले यसबाट आफू पछि नहट्ने र महामारी र विपत्तिमा रहेका नागरिकको जीउधनको रक्षामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त
गरेका छन् ।

ॅउद्धारमा कुनै कसर बाँकी रहँदैन’
प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिन र यसका कारण भएको क्षतिको पूर्ति गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । हरेक वर्ष प्राकृतिक विपत्तिका कारण जीउधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल उद्धार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामर्थ्यका साथ सरकारले ध्यान दिएको दाबी गरेका छन् । ‘जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरू बाढीपहिरो सुरु भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएका छन् । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकका साथमा रहँदै आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ ।’
महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन नमिल्ने उल्लेख गर्दै उनले जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ता एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारलाई प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गरे ।

ॅकोरोना संक्रमणको उच्च जोखिम उपत्यकामा’
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको उच्च जोखिमको क्षेत्र काठमाडौं उपत्यका बन्न लागेकाले यसमा सचेतता अपनाउन सर्वसाधारणको ध्यानाकर्षण गराएका छन् । ‘लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकामा २४ गते यो संख्या २३३ पुग्यो । राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदै छ,’ उनले भने, ‘यो संक्रमण समुदायमा फैलिए भयावह अवस्था सिर्जना हुन सक्छ । तसर्थ हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतता आवश्यक छ ।’
राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउन उनले आग्रह गरेका छन् ।
उनले सुरुदेखि नै संक्रमितहरूको पीसीआर परीक्षणमा जोड दिँदै आएका र यसलाई कुल जनसंख्याको २ प्रतिशत पुर्‍याउने लक्ष्य
राखेको बताए ।

समाचार

सर्वोच्च अदालतले भन्यो–‘मुलुकलाई पुलिस स्टेट नबनाउनू’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सर्वोच्च अदालतले नागरिकको स्वतन्त्रताको हकमा बन्देज लगाएर मुलुकलाई ‘पुलिस स्टेट’ नबनाउन सरकारलाई चेतावनी दिएको छ । माओवादीका पूर्वलडाकु लेनिन विष्टले दायर गरेको निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले लोकतन्त्रमा नभई ‘पुलिस स्टेट’ भएको राज्यमा मात्रै नागरिकको विचार तथा अभिव्यक्ति कार्यपालिकाको मर्जीमा रहने भन्दै ‘त्यो नगर्न’ सरकारलाई चेतावनी दिएको हो ।
द्वन्द्व र शान्तिसँग सम्बन्धित एक सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक जाने क्रममा विष्टलाई अध्यागमन प्रशासनले फर्काएको थियो । आफूलाई गैरकानुनी रूपमा विदेश भ्रमणमा बन्देज लगाइएको भन्दै विष्टले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यसैको व्याख्याका क्रममा सर्वोच्च अदालतले सम्पूर्ण प्रक्रिया पुर्‍याएका र कैफियत नदेखिएका नागरिकलाई विदेश भ्रमणमा बन्देज नलगाउन ‘प्रतिषेध’ को आदेश दिएको हो । राज्यका कुनै निकायबाट कानुनविपरीत गलत काम हुँदै छन् भन्ने शंका लागेमा अदालतले त्यसो नगर्नु भनी जारी गर्ने आदेशलाई प्रतिषेधको आदेश भनिन्छ । २०७६ कात्तिक १४ को निर्णयको पूर्ण पाठ हालै तयार भएको हो ।
विष्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले ‘पुलिस स्टेट’ भएका मुलुकमा मात्रै सरकारको इच्छा र मर्जीमा नागरिकका क्रियाकलाप सञ्चालन हुने भन्दै भर्खरै बामे सर्दै गरेको लोकतन्त्रलाई त्यता नमोड्न सरकारलाई सचेत गराएको हो । ‘विचार र अभिव्यक्तिलाई कार्यकारिणीको इच्छा र मर्जीमा राख्नु लोकतन्त्रमा मात्रै नभई पुलिस राज्यमा मात्रै सम्भव हुने,’ निर्णयमा भनिएको छ, ‘त्यो विषयमा कुनै अभिव्यक्ति दिनुअघि गृह मन्त्रालयलाई जानकारी दिनुपर्ने वा उसको सिफारिस, समन्वय वा स्वीकृति दिनुपर्ने बाध्यता संविधान र कानुनले गरेको छैन ।’ अध्यागमन प्रशासनले गृह मन्त्रालयको अनुमतिबिना विष्ट सेमिनारमा भाग लिन जान लागेकाले रोक लगाउनुपरेको तर्क गरेको थियो ।
२०७५ भदौ ९ देखि १३ गतेसम्म बैंककमा आयोजना हुने द्वन्द्वरत मुलुक, युवा र शान्तिका विषयमा कार्यशालामा भाग लिन विष्ट जान लागेका थिए । भदौ ८ गते नै उनलाई अध्यागमन कार्यालयले विमानस्थलमा रोकेको थियो । अनि प्रस्थान छाप लागेको भिसामा पछि रद्दको छाप लगाए, बोर्डिङ पास खोसे अनि फर्काइदिए । त्यसको कारणबारे सोध्दा अध्यागमनले ‘जुन कार्यक्रमका लागि थाइल्यान्ड जान लागेको हो, त्यस विषयसँग सम्बद्ध सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएकाले प्रस्थान अनुमति नदिइएको’ भनी लिखित पत्र दियो ।
मुद्दामा मुछिएपछि गृहमन्त्री रामबहादुर थापा बादल, उनका सल्लाहकार सूर्य सुवेदीलगायतले संवेदनशील विषयमा हुने वकालत र प्रचारप्रसार जस्तो कार्यक्रममा सहभागिताको जानकारी गृह मन्त्रालयलाई नभएको भनी लिखित जवाफ मात्रै दिएनन्, उनीमाथि पूर्वलडाकुको संस्थापक संगठनलगायत १५ जनाले उजुरी दिएको अनि त्यसको छानबिनका क्रममा विदेश जान अनुमति नदिएको भन्ने जिकिर पनि गरे । उजुरीमा विष्टका सहकर्मीहरूले ‘आफूहरूको नाम बेचेर विष्टले आर्थिक लाभ लिएको र त्यही सिलसिलामा उनी थाइल्यान्ड जान लागेको’ व्यहोरा थियो भनी सरकारी पक्षको दाबी थियो ।
अध्यागमनको तत्कालीन पत्र र पछि गृहले दिएको लिखित जवाफको व्यहोरा फरक परेको भन्दै सर्वोच्च अदालतले आधिकारिक निकायबाट पक्राउ वारेन्ट जारी नभएको अवस्थामा उजुरी परेकै आधारमा नागरिकमाथि हिँडडुलमा बन्देज लगाउन नहुने भनी व्याख्या गर्‍यो । विष्टले तारिख टुटाएपछि मुद्दालाई तामेलीमा राख्न खोजिएको थियो । तर सर्वोच्च अदालतले कुनै पनि कार्यक्रममा नागरिक विदेश जाँदा सम्बन्धित मन्त्रालयको स्वीकृति दिनुपर्ने हो वा होइन भन्ने विषय आम सरोकारको विषय भएको भन्दै मुद्दाको सुनुवाइ गरेको थियो ।
‘त्यो पत्र संविधान र कानुनको बर्खिलापमा देखिन्छ,’ अध्यागमनको पत्रबारे न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले गरेको व्याख्यामा भनिएको छ, ‘सरकारको कुनै निकायको सिफारिस वा स्वीकृतिबिना विदेश जान पाइँदैन भन्ने कानुनी व्यवस्था नभएको देखिन्छ । गृह मन्त्रालयलाई नसोधेसम्म अधिकारको प्रयोग गर्न दिन्न भन्नु हामीले अपनाएको लोकतन्त्र र विधिको शासनको मान्यता अनुकूल हुँदैन ।’
लेनिन विष्टलाई बहिर्गमित लडाकु भनिएको अवस्थामा उनले आफू र सहयोद्धाका विषयमा सशस्त्र द्वन्द्व, शान्ति, राहत र शान्ति प्रवर्द्धनका विषयमा देशभित्र र बाहिर आफ्नो विचार राख्न अनि छलफल गर्न पाउने भन्दै सर्वोच्चले उनीविरुद्ध उजुरी परेकै भए पनि त्यति मात्रै कारणले हिँडडुलमा बन्देज नहुने व्याख्या गरेको हो ।
सशस्त्र युद्धका दौरान आफू बालसेना भएको दाबी गर्ने विष्टले अहिले द्वन्द्वका क्रममा माओवादी लडाकुहरूले बालसेना प्रयोग गरेको भन्ने विषय उठाएका थिए । उनी थाइल्यान्डमा त्यही विषयमा प्रवचन दिन जान लागेको आशंकामा गृहमन्त्री थापाको निर्देशनमा उनलाई अध्यागमनले फर्काएको थियो ।

समाचार

सीसीएमसीमा नगर प्रतिनिधि !

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विदेशबाट आएका नागरिकको व्यवस्थापनका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक गर्दा नगरपालिका सञ्जालका प्रतिनिधिलाई पनि आमन्त्रण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने भएको छ । सीसीएमसीको निर्देशक समितिको शुक्रबार बसेको बैंठकले नगरपालिका सञ्जालका अध्यक्ष (काठमाडौं महानगरपालिकाका मेयर), उपाध्यक्ष (ललितपुर महानगरपालिकाका मेयर) र सचिव (मध्यपुर ठिमी नगरपालिकाका मेयर) लाई सीसीएमसीको बैठकमा बोलाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
सीसीएमसी सचिवालयका सचिव महेन्द्र गुरागार्इंका अनुसार प्रदेशस्तरीय र जिल्लास्तरीय सीसीएमसीको संरचनामा त्यहाँको जनस्वास्थ्य कार्यालयका प्रमुखहरूलाई पनि समावेश गर्ने गरी मन्त्रिषरिषद्मा प्रस्ताव लाने निर्णय भएको छ । बैंठकले लगानी कर्ता वा निजका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय कम्पनीका कर्मचारी, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख वा कार्यरत कर्मचारीलाई नेपालमा आउन स्वीकृत दिनुपर्ने प्रस्ताव पनि मन्त्रिपरिषद्मा लाने निर्णय
भएको छ ।
यस्तै, असार २८ गतेसम्म विदेशबाट उद्धारका उडान भइराखेकामा अब एक सातासम्म उडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालयले समन्वयात्मक रूपमा तालिका सार्वजनिक गर्ने निर्णय पनि भएको छ ।

समाचार

जनप्रतिनिधिको सुविधा विधेयक पारित

- कान्तिपुर संवाददाता

गण्डकी (कास)– गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवासुविधा बढाउने गरी ल्याएको विधेयक शुक्रबार प्रदेशसभाले पारित गरेको छ । छलफलपश्चात् विधेयकमा महानगरका प्रमुख/उपप्रमुख, नगर र गाउँपालिका प्रमुखले पाउने पीएको सुविधा घटाइएको छ भने इन्धन र दैनिक भ्रमण भत्ता कम गरिएको छ । अन्य जस्ताको तस्तै पारित भएको छ । विधेयक पारित भएसँगै नपा र गापाका प्रमुखले खरिदारसरहको पीएको सुविधा पाउने भएका छन् ।
यसरी नै महानगर प्रमुखले नासु र उपप्रमुखले खरिदारसरहको पीए राख्न पाउने भएका छन् । मेयरलाई १ सय २० लिटर मासिक तेल दिने भनिएकोमा संशोधन गरी ९० लिटरमा झारिएको छ । उपाध्यक्षको गाडी सुविधा कायम राखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमानले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यसभन्दा पहिला ल्याएको ऐन कारणवश सर्वोच्च अदालतबाट खारेज भएकाले यस पटक धेरै विचार पुर्‍याएर विधेयक ल्याइएको बताए । स्थानीय जनप्रतिनिधिको कानुन प्रदेश सरकारले नै बनाइदिनुपर्ने कानुनी प्रावधान भएकाले र हालसम्म ऐन नहुँदा प्रदेशका ८५ वटै स्थानीय तहका जनप्रतिनिधि हालसम्म सेवासुविधाविहीन रहेकाले विधेयक ल्याइएको उनको भनाइ छ ।

 

Page 5
फिचर

मैलो कमिज : एक भयानक प्रश्न

- नयनराज पाण्डे

 

हाम्रा सम्माननीय प्रधानमन्त्री श्री दलबहादुर एकाएक बेपत्ता हुनुभयो ।’
सहरमा हल्ला फैलियो र त्यो ‘हल्ला’ खबर बनेर फैलिँदैफैलिँदै सीमान्त गाउँको म रहेको मुकामसम्म पनि आइपुग्यो । मुलुक र मुलुकवासी कसैले पनि त्यो खबरमाथि विश्वास गरेनन् । मलाई पनि विश्वास भएन । तर, अन्ततः त्यो खबर सत्य सावित भयो । प्रधानमन्त्री साँच्चिकै हराएका रहेछन् ।
खबरमा भनिएअनुसार, अघिल्लो मध्यरातसम्म उनी केही कागजातहरूमा हस्ताक्षर गरेर सुतेका थिए । बिहान भने उनी आफ्नो ओछ्यानमै थिएनन् । उनी आफ्नो कार्यालयमा पनि फेला परेनन् र महलजस्तो सरकारी निवासमा पनि । उनको चस्मा उनकै कार्यालयको टेबलमै फेला पर्‍यो । उनको मोबाइल उनले प्रयोग गर्ने बाथरुममा फेला पर्‍यो । उनले लगाउने गरेको नक्कली दाँत उनको सरकारी निवासको डाइनिङ टेबलमै फेला पर्‍यो । उनको नाडीघडी उनकै कार्यालयको ड्रयरमा फेला पर्‍यो । उनको जुत्ता निवासको ढोकैमा फेला पर्‍यो । उनको हातमा ज्योतिषहरूले धारण गर्न दिएका मुगा, रुबी र नीलमका औंठीहरू उनको बेडरुमकै साइड टेबलमा फेला पर्‍यो । उनको कलम, सिगार केस र ह्विस्की राख्ने हिप
फ्लास्क पनि निर्धारित ठाउँमै फेला परे । प्रधानमन्त्रीको चरित्र, आनीबानी र उनको रवाफिलो व्यक्तित्व जनाउने सबै सामग्रीहरू फेला परे । तर, प्रधानमन्त्री कतै फेला परेनन् । मुलुकले प्रश्न गर्न थाल्यो, ‘प्रधानमन्त्री हुन् कि तोरीको गोदाममा हराएको आलपिन ?’
केही महिनाअघि प्रधानमन्त्रीको मुटुमा पेसमेकर राखिएको थियो । जीवनपर्यन्त मुटुमै भइरहनुपर्ने त्यो पेसमेकर उनकै कुर्सीमा टिकटिक गरिरहेको थियो । यो सबैलाई तर्साउने खालको दृश्य थियो । के कसैले प्रधानमन्त्रीको हत्या गरेर उनको मुटुबाट पेसमेकर झिकेर थपक्क कुर्सीमा राखिदिएको थियो ? या बेपत्ता हुनुअघि प्रधानमन्त्री आफैँले आफ्नो मुटु खोतलेर पेसमेकर झिकेर त्यहाँ राखेका थिए ?
दुवै कुरा कहालीलाग्दा थिए । तर, सबैभन्दा कहालीलाग्दो कुरा त उनी गायब हुनु नै थियो । त्यो पनि बिनासूचना । कुनै उपप्रधानमन्त्रीलाई कार्यकारी अख्तियारीसमेत नदिई ।
हजारौं सुराकी परिचालित भए । तर, कसैले पनि प्रधानमन्त्रीबारे कुनै सुराक फेला पार्न सकेन । मुलुकको गुप्तचर संयन्त्र पूरै मजाक सावित भएको थियो ।
तर, मुलुकलाई थाहा नभएको कुरा मलाई थाहा छ । प्रधानमन्त्री कहाँ बेपत्ता भए भन्ने कुराको म पूरा जानकार छु । म उनका बारेमा तपाईंलाई पूरै सूचना दिन सक्छु । तर, त्यसभन्दा पहिले तपाईंले मेरो यो एकालाप ध्यानपूर्वक पढ्नुपर्छ ।
मेरो सर्त यही हो— मलाई पढ्नुस् । मलाई बुझ्नुस् । र, हराएका प्रधानमन्त्रीलाई फेला पार्नुस् ।
िि
ि
मानिस सामाजिक प्राणी हो । यो कुरा प्राथमिक कक्षादेखि नै तपाईंहरूले पढ्दै आउनुभएको हो । तपाईंका मातापिताले पनि यही पढ्नुभयो र तपाईंका सन्ततिहरू पनि त्यही घोक्दै छन् । विद्वान्हरूले आजपर्यन्त यही पढाइरहेका छन् । पढाइरहेका पनि के भन्नु, रटाइरहेका छन् । के उनीहरूलाई मानिसहरू असामाजिक भइदेलान् भन्ने शङ्का छ ? कतै उनीहरूलाई मानिस सामाजिक प्राणी हो भन्ने कुरामा नै संशय त छैन ?
मलाई भने संशय छ ।
मलाई संशय भएर के हुन्छ ? यो असामाजिक संसारमा मेरो सोच र संवेदनाको के अर्थ ? म किलोमा झुन्डिएको मैलो न मैलो कमिज न हुँ । मेरो अस्तित्व के ? मेरो हैसियत के ? मेरा बाहुलाका कुहिनाहरूमा प्वाल परेका छन् । कलरमा मयलको थुप्रो छ । मबाट हरदम पसिनाको अमिलो गन्ध आइरहन्छ । मैले आफ्नो वास्तविक रङ र स्वरूप गुमाइसकेको छु । मलाई तपाईं जति जीर्ण र फोहोर कल्पना गर्नुहुन्छ, मेरो यो एकालाप पढ्न तपाईंलाई त्यति नै मजा आउनेछ । यो एकालापको सफलता तपाईंको कल्पनाशीलतामा निर्भर छ । तर, म ग्यारेन्टी गर्छु, मेरो एकालापले तपाईंलाई त्यति नै मजा दिनेछ, जति मजा तपाईंहरूलाई कफी खाँदै गरिब पात्रका कथाहरू पढ्दा आउने गर्छ ।
आउनुस्, कथाको मजा लिनुस् र एकान्तमा बौद्धिक मैथुन गर्नुस् ।
िि
ि
मेरो एकालापको सुरुआत म केही थान प्रश्नहरूबाट गर्न चाहन्छु ।
के तपाईंलाई आफ्नो प्रधानमन्त्रीले कुन ब्रान्डको लुगा लगाउनुहुन्छ भन्ने थाहा छ ? हुन त यो कुरा तपाईंलाई थाहा हुन पनि सक्छ । किनभने प्रधानमन्त्री सुत्ने पलङ, उनका जुत्ता र उनका घडीहरूको मूल्य बेलाबेलामा समाचार बन्ने गरेका छन् । तर, मेरो अर्को प्रश्नको जवाफ भने तपाईंलाई पक्कै थाहा छैन । प्रश्न हो— जब प्रधानमन्त्रीका लुगाहरू पुराना हुन्छन्, ती लुगाहरू कहाँ जान्छन् ?
एकाधबाहेक हामीले त्यस्ता कुनै महान् प्रधानमन्त्री पाएका छैनौं, जसको पोसाक संग्रहालयमा सुरक्षित गर्नलायक हुन्छ । त्यसैले मेरो लुगासम्बन्धी यो प्रश्नले तपाईंको दिमाग (यदि कतै बन्धकी राख्नुभएको छैन या त्यसमा ताल्चा लगाउनुभएको छैन भने) एक छिनका लागि भए पनि रन्थनिएको हुनुपर्छ ।
हुने–खानेहरूले आफ्ना लुगाहरू पुराना भएपछि घरेलु कामदार या तिनका आफन्तलाई दिने गर्छन् । केहीले बाढीपहिरोका बेला सुकुम्बासी या मुसहरजस्ता बस्तीका गरिबहरूका लागि दान दिने गर्छन् । प्रधानमन्त्रीले आफ्नो पुरानो लुगा त्यसरी दान दिन्छन्/दिन्नन्, तपाईंलाई पक्कै पनि थाहा छैन । प्रधानमन्त्रीले लगाउने कमिज, पाइन्ट, गन्जी या कट्टुको नियति के हुन्छ ? उनको मोजाको भविष्य के हुन्छ ? जाडोमा उनले लगाउने पन्जा पुरानो भएपछि कता जान्छ ? उनका पुराना टोपी, टाई र मफलरहरू अहिले कहाँ छन् ? उनले स्नान गरिसकेपछि प्रयोग गर्ने टवेल या उनले पसिना या नाक पुछ्ने हाते रुमालहरू अहिले कुन हालतमा कहाँ छन् ? के यी प्रश्नहरू कहिल्यै तपाईंको दिमागमा उम्रिएका छन् ? पक्कै छैनन् । अब सोच्न थाल्नुस् । किनभने मेरोजस्तै ती पाइन्ट, गन्जी, कट्टु या रुमालहरूको पनि कुनै कथा हुन सक्छ । तिनका पनि खुसी र व्यथाहरू हुन सक्छन् । तिनले पनि कतै कसैलाई मैलेजस्तै आफ्नो कहानी या एकालाप सुनाइरहेका हुन सक्छन् ।
िि
ि
म कुनै बेला प्रधानमन्त्रीले लगाउने कमिज थिएँ । हुने–खानेहरू एउटै लुगा धेरैपटक लगाइरहँदैनन् । तिनले चाँडोचाँडो नयाँ लुगा किन्छन् । अझ प्रधानमन्त्रीका लुगाका लागि त राज्यले बजेट नै
छुट्याएको हुन सक्छ । यस्तै ल्याप्स हुनै लागेको बजेटबाट असार मसान्तमा प्रधानमन्त्रीका सहयोगीहरूले हतारहतार कुनै सानदार मलको महँगो पसलबाट मलाई किनेर ल्याएका थिए । मेरो मूल्य कति हो, मलाई थाहा छैन । तर, प्रधानमन्त्रीका लागि भनेपछि मेरो वास्तविक मूल्यमा साहुले थप मूल्य जोड्यो । प्रधानमन्त्रीका सहयोगीले त्यसमा आफ्नो कमिसन थपे । यसरी म मूल्यवान भएर प्रधानमन्त्री निवासमा छिरें ।
मेरा केही महिना आराममा बिते । मलाई गर्मी या जाडो भएन । म कहिल्यै पसिनाले निथ्रुक्क भइनँ । मलाई त्यतिबेला चरम गर्वको आभास भएको थियो । किनभने म प्रधानमन्त्रीको हरेक चिन्तन र चिन्तामा सामेल थिएँ । म सत्ता टिकाउने उनका षड्यन्त्रहरूमा सामेल थिएँ । म उनका कतिपय तोकहरूमा सामेल थिएँ । उनले गरेका हस्ताक्षरहरूमा सामेल थिएँ । उनका नजिकका आफन्तहरूलाई ठेक्कापट्टा दिलाउने उनको मनसाय र आदेशमा पनि सामेल थिएँ । म उनले माफियाहरूसित गरेका लेनदेन र वार्तालापहरूमा सामेल थिएँ । म उनले देश र जनतासित गरेका कपटपूर्ण वाचाहरूमा सामेल थिएँ ।
त्यहीबेला देशमा फैलिएको थियो एउटा अज्ञात रोग । कतिले देउता रिसाएकाले त्यो रोग फैलिएको हो भन्थे । कतिले त्यो रोगलाई मान्छेसित प्रकृतिले लिइरहेको प्रतिशोध ठान्थे । रोगको कारण र निवारणबारे वैज्ञानिकहरू अलमलमा थिए । बुद्धिजीवीहरू रोगमा राजनीति, अर्थशास्त्र र समाजशास्त्र मिसमास पारेर टेलिभिजनका पर्दामा बहस गर्न थालेका थिए ।
घाम उदाउँथ्यो । बत्ती पनि बल्थ्यो । तर, पनि त्यो अँध्यारो समय थियो । मान्छेका मनभित्रका उज्यालाहरू निभेका थिए । देश पूरै मौन थियो । मान्छेसितै डराइरहेका थिए मान्छेहरू । आफन्तसितै सशंकित भइरहेका थिए मान्छेहरू । रोकिएका थिए सुख र आनन्दका वार्तालापहरू । बन्द थिए मित्रहरूबीचका ठट्टाहरू । प्रेमी र प्रेमिकाहरूबीचको भेटघाट बन्द भएको थियो । मान्छेहरूले लिन छाडेका थिए आमाबाबुको आशीर्वाद । चुम्बनहरू हराएका थिए । स्पर्शहरू वर्जित भएका थिए । प्रजनन अंगहरूमा धमाधम ताल्चा लाग्न थालेका थिए । मान्छे अज्ञात रोगको भयले आत्तिएको थियो । ऐनामा आफ्नै प्रतिविम्बसित पनि तर्सिन थालेको थियो मान्छे । ठान्थ्यो, उसकै रूप धरेर कोही उसको घरमा जीवाणु र विषाणुसहित प्रवेश गरेको छ । मान्छेका यात्राशील पाइलाहरू घरको संघारभित्र रोकिएका थिए । उसले आफूलाई माया गर्नेहरूलाई नै घरमा प्रवेश निषेध गरेको थियो । उसलाई हावामा शत्रुहरू ओहोरदोहोर गरिरहेको आभास भइरहेको थियो । उसले टेक्ने जमिन र उसले हेर्ने आकाशप्रति ऊ सशंकित थियो ।
यतिखेर मान्छे श्रृष्टिको सर्वाधिक दुःखी प्राणी सावित भएको थियो ।
यस्तोमा एक दिन कुनै सहयोगीले प्रधानमन्त्रीलाई भनिदियो, ‘यो रोग पोसाकबाट पनि सर्छ । त्यसैले यो बेला पुराना पोसाकहरूको प्रयोग उपयुक्त छैन ।’
मलाई तत्काल प्रधानमन्त्रीले आफ्नो शरीरबाट उतारे । गन्जी, कट्टु र मोजा पनि फुकाले । सहयोगीले पन्जा लगाएको हातले हामीहरूलाई बडो उपेक्षापूर्वक एउटा पोलिथिनको झोलामा कोच्यो । अर्को सहयोगीले प्रधानमन्त्री निवासको फोहोर थुपार्ने ठाउँमा राखिदियो । अर्को दिन नगरपालिकाको गाडी आयो । एउटाले हामीलाई कन्टेनरमा थन्क्यायो । हामी सबै आत्तियौं । आफ्नो समयको सबैभन्दा शक्तिशाली मानिसको सुगन्धित वदनबाट एकाएक उत्रिएर एउटा भयावह फोहोर संसारमा प्रवेश गर्नुपर्दा म दुःखी भइसकेको थिएँ । डम्पिङसाइटमै पुगेपछि त मेरो होसै हरायो ।
होस खुल्दा म मधेसको एक गरिब मजदुरको
शरीरमा थिएँ ।
देशबाट अज्ञात रोगको भय हटिसकेको थियो । तर, प्रधानमन्त्री साविककै महलमा बिराजमान थिए र नयाँ कमिजमा ठाँटिएर माफियाका नाइकेहरूसित नयाँ ठेक्कापट्टाको कमिसन तय गरिरहेका थिए । उनी उसैगरी जनघाती निर्णयहरूमा तोक लगाइरहेका थिए । उसैगरी दमनका आदेश दिइरहेका थिए र उसैगरी जनताको मजाक उडाइरहेका थिए ।
म भने यतिन्जेलसम्म मैलो न मैलो भइसकेको थिएँ । ठाउँठाउँमा उध्रिइ र च्यातिइसकेको थिएँ । मैले आफ्नो वास्तविक पहिचान गुमाइसकेको थिएँ । तर, पहिचानको बहसको वातावरण कुण्ठित भइरहेको समयमा मैले मेरो पहिचानको मुद्दा उठोस् भन्ने कामना पनि राखिनँ । बस्, मैले सोच्न थालें, राजधानीको आलिसान महलमा बिराजमान प्रधानमन्त्रीको शरीरबाट उत्रिएर म टाढाको मधेसको एउटा गरिब श्रमिकको शरीरमा कसरी बस्न आइपुगें १ उसले कहाँ पायो मलाई ? मैले प्रधानमन्त्रीको सुकोमल देहदेखि
गरिबको जीर्ण शरीरसम्मको यात्रा कसरी तय गरें ? जवाफ थिएन ।
तर, मैले अनुमान लगाएँ ।
सम्भवतः डम्पिङसाइटमा फोहोर उधिन्ने केटाकेटीहरूले मलाई फेला पारे । यसो नियाले । तिनीहरूको पातलो शरीरमा म फिट हुने कुरै भएन । उनीहरूले मलाई धोइपखाली गरे र कमिजको खाँचो परेको अर्को कुनै गरिबलाई बेचिदिए । पाएको पैसाले केहीले चुरोट खाए, केहीले चाउचाउ । सम्भवतः केही दिन त्यो गरिबले मलाई लगायो पनि । तर, उसको शरीरमा ब्रान्डेड कमिज देखेर कुनै कलेजनिरको चियापसलमा चिया खाँदै गरेका केही विद्यार्थी भाइबैनीहरूले उसलाई उल्लीबिल्ली पारे । अपमानबोधका कारणले उसले डेरामा पुगेर मलाई फुकाल्यो । साँझ धोइपखाली गरेर अर्को दिन उसले मलाई काठमाडौंको न्युरोडको सेकेन्ड ह्यान्ड लुगाहरूलाई नयाँ बनाएर बेच्ने एउटा साहुलाई सुम्पियो । सम्भवतः त्यसपछि म केही दिन उसकै फुटपाथ पसलमा लुगाहरूको डंगुरमा यता र उता भइरहें । सायद एक दिन एक जना सरकारी कर्मचारी सपरिवार न्युरोडमा किनमेलमा आए । उनीहरूले नजिकैको ब्रान्डेड पसलबाट आफ्ना लागि, श्रीमती र छोराछोरीका लागि महँगा लुगाहरू किने । तर, उनको घरमा एक वृद्ध पिता पनि थिए र त्यो दिन बाबुको मुख हेर्ने दिन पनि थियो । उनले मलाई रोजे र घर पुगेर पितालाई लगाइदिएर फोटो पनि खिचे । उनले साँझसम्म सामाजिक सञ्जालमा त्यो फोटोबारे आएका प्रतिक्रियाका हिसाबकिताब गर्दै बसे ।
सम्भवतः त्यहीताका मधेसमा बाढी आयो र हजारौं गरिबहरूको उठिबास भयो । उनीहरू बेघर भए । उनीहरूसित खाने कुरा भएन । लगाउने लुगा पनि भएन । वृद्ध पितालाई दया लाग्यो र उनले मलाई लुगा संकलन गर्न आएको एक टोलीलाई सुम्पिदिए । यतिन्जेल म बेहोसीमै थिएँ । होसमा आउँदा भने म बाढीपीडित एक गरिब श्रमिकको शरीरमा थिएँ ।
केही दिनपछि बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्न हेलिकप्टर चढेर प्रधानमन्त्री आए । उनले बाढीपीडितहरूलाई चिउरा, चाउचाउ र चियापत्तिका पाकेटहरू पनि बाँडे । बाँड्दाबाँड्दै प्रधानमन्त्री एक जना गरिबलाई देखेर जिल्ल परे । स्तब्ध भए । होइन, उनी गरिबलाई देखेर स्तब्ध भएका थिएनन् । किनभने गरिबीसित उनी परिचित छन् । उनीजस्ता पात्रहरूकै कारण गरिबी देशमा संस्थागत भएको भन्ने विषयमा उनी जानकार थिए । उनी स्तब्ध त मलाई देखेर भएका थिए । किनभने कुनै बेला उनैले पहिरिएको
कमिज एउटा नयाँ देहसहित ठिंग उनका सामु
उभिएको थियो ।
जसरी गरिब एउटा प्रश्न हो । जसरी भोको मान्छेको आँखा एउटा प्रश्न हो । त्यसरी नै मैलो कमिज पनि एउटा खतरनाक प्रश्न हो । सम्भवतः प्रधानमन्त्री त्यही प्रश्नसित आत्तिएका थिए । म मैलो भएकाले प्रधानमन्त्रीले मलाई अँगालो हाल्न सकेनन् । मप्रति आत्मीयता प्रकट गर्न पनि सकेनन् । उनलाई आफ्नै आत्मा या आफ्नै अतीतको कुनै प्रतिकृति हेरिरहेको आभास भएको थियो सायद । त्यो आभासले उनलाई बिसन्चो गर्‍यो । उनलाई ज्वरो आयो ।
िि
ि
लामै समयसम्म प्रधानमन्त्री बिरामी भए भन्ने कुरा मुलुकसँगै मैले पनि थाहा पाएँ । उनी ज्वरोमै बर्बराउन थालेका थिए रे १ सम्भवतः उनी बेलाबेला मलाई सम्झन्थे र झनै आत्तिन्थे । उनले अरू कसैलाई आफ्नो समस्या बताउन पनि सकेका थिएनन् । कुनै बेला उनैले सगर्व धारण गरेको उनकै कमिज अहिले एउटा गरिब र भोको मान्छेको शरीरमा टाँस्सिएको छ । यो त उनकै लागि पनि लज्जाको विषय थियो । त्यस्तो विषय अरूलाई भनेर कसरी सार्वजनिक गर्नु ? त्यही कारणले उनको रोग झन्झन् बल्झिएको हुनुपर्छ र उनी झन्झन् कमजोर बन्दै गएको हुनुपर्छ ।
तर, यति नै कारणले उनी हराइहाल्नुपर्ने त थिएन । अचम्मको कुरा त के भने, उच्च सुरक्षा सतर्कता अपनाइने उनको सरकारी महलमा उनी बेपत्ता भएको कसैले चालै पाएन । तर, यसो भनिहाल्न पनि मिल्दैन । उनी सुटुक्क गेटबाट निस्कँदा एउटा भुस्याहा कुकुरले त उनलाई देखेकै थियो । तर, कसैले उसको बयान लिएन । नत्र कुकुरले भन्ने थियो, ‘प्रधानमन्त्री पूरै नाङ्गो त हुनहुन्थेन । उहाँले कट्टु लगाउनुभएको थियो । उहाँको खुट्टामा मोजा पनि थियो । शरीरमा कमिज पो थिएन, शिरमा टोपी त थियो । उहाँको गलामा मफलर पनि थियो र हातमा पन्जा पनि । गेटबाट निस्केको केहीबेरसम्म त मैले उहाँको शरीर पनि देखेकै हुँ । तर, केही क्षणमै सडकमा उहाँको शरीर हरायो र उहाँको टोपी, मफलर, कट्टु र मोजा मात्र हिँडिरहेको थियो ।’
िि
ि
एक दिन मलाई धारण गरिरहेको शरीरले एउटा दलदलमा केही चलायमान वस्तु भास्सिँदै गरेको देख्यो । उसले दलदलबाट त्यो वस्तुलाई निकाल्यो । हेर्दा मान्छेकै जस्तो आकृति त देखिन्थ्यो । तर, त्यो आकृतिभित्र मान्छे थिएन । बस् माथि टोपी थियो, घाँटीमा मफलर थियो, अलिक तल कट्टु र अझै तल मोजा थियो ।
उसले हिलो र मैलोमा लतपतिएको त्यो आकृतिलाई घरसम्म ल्याउन आवश्यक ठानेन । किनभने त्यो देह र आत्माबिनाको आकृति थियो । तर, मलाई धारण गरेको त्यो मनुवा दयालु थियो । उसले आफ्नो कछाड फुकाल्यो र त्यसैले त्यो मैलो र अमूर्त आकृतिलाई छोपिदियो । त्यो उसले मानवजस्तै देखिने आकृतिका लागि गर्न सक्ने सबैभन्दा उच्च सम्मान थियो ।
यो सबै दृश्य मैले देखेकै हुँ । कुनै बेला म उनको देहसित अभ्यस्त थिएँ । त्यसैले त्यो आकृति प्रधानमन्त्रीकै हो भन्ने पनि मलाई थाहा थियो । तर, म कमिज न हुँ । कमिजले कसरी बोल्छ ? कमिजले के बोल्छ ? त्यसमाथि मैलो न मैलो कमिज १ मैलो मान्छेको
कुरा नपत्याउने समाजमा मैलो कमिजको कुरा झन् कसले पत्याउने ?
िि
ि
अचानक हराएका प्रधानमन्त्री उसरी नै अचानक फेरि प्रधानमन्त्री निवासमा देखापरे । उनको शरीरभरि हिलो लागेको थियो । उनको हुलिया देखेर सबै चकित भए । सहयोगीहरूले उनलाई फेरि नयाँ टोपी, नयाँ मफलर, नयाँ गन्जी, नयाँ कमिज, नयाँ कट्टु र नयाँ पाइन्ट लगाइदिए । चिकित्सकहरूले फेरि उनको मुटुमा पेसमेकर राखिदिए । निर्जीव देखिएका प्रधानमन्त्री फेरि चलायमान देखिए । सिंहदरबारमा एक प्रेस कन्फ्रेन्स गरेर हराएका प्रधानमन्त्रीलाई सार्वजनिक गरियो ।
राति प्रधानमन्त्री निवासमा आतिसबाजी गरियो ।
त्यो हर्षोल्लास रातभरि मात्र कायम रह्यो ।
बिहान भने फेरि अर्को अप्रिय खबर सार्वजनिक भइहाल्यो, ‘प्रधानमन्त्री आफ्नै निवासमा मैलो न मैलो कछाडमा झुन्डिएको अवस्थामा फेला पर्नुभयो ।’
पोस्टमार्टम रिपोर्ट आयो । रिपोर्टमा लेखिएको थियो, ‘प्रधानमन्त्रीको आकृतिभित्र उहाँको देह नै थिएन । आत्मा पनि थिएन ।’
पूरै राज्यसंयन्त्र कछाडको मालिकको खोजीमा लाग्यो । अन्ततः मलाई धारण गरेको देह गिरफ्तार भयो । न्यायालयले उसलाई मृत्युदण्डको घोषणा गर्‍यो । कछाड नभएकाले उसको तल्लो अंग नग्न
अवस्थामा थियो । उसले आफूलाई झुन्ड्याउन आएकाहरूसित भन्यो, ‘जब म तल नांगै छु भने माथि किन ढाक्ने मैले ?’
त्यसैले आफूले सूलीमा झुन्डिनुअघि मभित्रको गरिब देहले मलाई आफूबाट अलग्यायो र नजिकैको किलोमा झुन्ड्याइदियो ।
म झुन्डिएको किलोबाट पूरै मुलुक देखिन्छ । मुलुकको पूरै राजनीति पनि देखिन्छ । प्रधानमन्त्रीका नयाँ पोसाकहरू पनि देखिन्छन् । नयाँ पोसाकका प्रधानमन्त्रीहरू पनि देखिन्छन् । मैले नदेखेको र नबुझेको एउटै कुरा छ– प्रधानमन्त्रीका पुराना पोसाकहरू कहाँ गायब हुन्छन् ?

Page 6
सन्दर्भ

भानुको चुँदी रम्घामा मौनताको आवाज

- डा. जयराज आचार्य

 


म ५० वर्षपछि भानुभक्तको जन्मस्थल तनहुँ, चुँदी रम्घा फर्किएँ— त्यो मेरो पनि जन्मस्थल हो । तर, गाउँमा अब बस्ती छैन । त्यो सब बेंसीतिर सरेको छ, बेंसीबाट पनि मधेस सरेको छ, विदेश सरेको छ । खाडी मुलुक, अमेरिका, अस्ट्रेलिया, जापान, कोरियातिर पुगेको छ । तैपनि मेरो मनले भनिरहन्छ— जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी १
अघि त्यो ठाउँ गुलजार थियो, आज उजाड छ, सुनसान छ । त्यहाँ बाहुन, छेत्री, सार्की, कामी, दमाइँ, सुनार, घर्ती, मगर, गुरुङ सबै थिए । अहिले ती तितरबितर भए । भानुभक्तको घर पाताल भयो । त्यहाँ जंगल छ आज । रूखहरूले मात्रै रामायण सुसाउँछन् हावामा । पातहरू बरर्र झर्छन्— लंकाको अशोक वनमा सीताजीको आँखाबाट झरेका आँसुझैँ ।
म गाउँतिर लाग्छु— कोही भेटिन्छ कि भनेर होइन, त्यहाँको मौनताको आवाज सुन्न । त्यही बाटोमा पहिले हजारौं पदचाप पर्थे, अहिले त्यो पतिङ्गरले पुरिएको छ, मेटिएको छ । उकालोका सिँढीका ढुंगा खलबलिएका छन्, कतै पल्टिएका छन् । ती ढुंगामा हामी केटाहरूले हँसियाको चुच्चोले आफ्नो पाइला खोपेका थियौं । ती पनि मेटिएका छन्— लेउ लागेको छ । भत्किएको बाटो लम्पसार छ— रावणले पखेटा काटिदिएको जटायु पछारिएजस्तो ।
उकालोमा वर–पीपलहरूले कसैलाई पर्खिरहेझैं लाग्छ । तर, तिनको छहारीमा भारी बिसाउन, पसिना पुछ्न कोही आउँदैन । गाउँलेहरूले चैत–वैशाखमा चौतारोमा माटोका घैंटामा चिसो पानी राखेका हुन्थे, बटुवाका लागि । आज न बटुवा छन् न पानीका घैँटा । छहारीमुनि मौन ढुंगा मात्र छन् । रम्घा डाँडामाथि भानुभक्त अब ढलोटमा ढलेर धुमधुम्ती एक्लै बसेका छन् । भानु जयन्तीका दिन पनि त्यहाँ कोही पुग्दैन । वरिपरि बुटा उम्रेर बढेका छन् ।
मेरो बाल्यकालमा बाटोका दायाँबायाँका रूख, बुटाहरूको फूलबाट मिठो बास्ना आउँथ्यो– अहिले पनि आइरहेछ । तर, त्यो त्यसै खेर गइरहेछ । म त्यो सबै सुगन्ध पोको पारेर घर ल्याउन चाहन्छु, सक्दिनँ । अनि म आफूले पढेको प्राथमिक विद्यालय पुग्छु तर त्यसको नामोनिसान छैन, पूरै बिर्सिएको पाठजस्तै भएको छ । मलाई नै प्रतीक्षा गरिरहेजस्तो विद्यालय–प्रांगणमा म उभिन्छु । पाती उम्रिएको छ । चारैतिर हेर्छु— परपरका डाँडाकाँडाबाहेक केही देखिन्न । मेरो शिरमाथि मौन आकाश मात्र छ ।
म पाँच वर्षको हुँदा विद्यालय जान थालेको थिएँ । ढुंगा–माटोको गाह्रो भएको एककोठे गोठजस्तै झुपडीलाई रम्घा पाठशाला भनिन्थ्यो (पछि भानु माध्यमिक पाठशाला भनियो आदिकविको नाममा) । पूर्वपट्टिबाट भित्र पस्ने काठको सानो ढोका र स्थानीय कामीले बनाएको फलामका साङ्ला र मुड्का थिए, इतिहासजस्ता । झुपडीमा अग्राखका गरालाहरूको तेर्सो तरेली थियो । त्यसबाट उज्यालो पस्थ्यो र हिउँदमा घामको किरण पनि । पाठशालाको उत्तरतिर भिरालोमा चिलाउने, सालका रूखहरू, धँगेरी र अन्य बुटाहरू थिए । मजस्ता साना केटाकेटीको त्यस संसारमा कुनै सुर्ता थिएन । देवकोटाले भनेजस्तै – उफर सानु शावके सानु स्वर्ग थियो त्यो ।
पाठशालाको पूर्वपट्टि इँटाको गाह्रो र टायलको छाना भएको एउटा सानो देवल थियो । तर, किन हो त्यहाँ देवताको मूर्ति थिएन । त्यसले मलाई मूर्तिहीन देवत्वको अनुभव गराउँथ्यो– सदैव अज्ञात रहस्य– बुद्धले भनेको शून्यता । त्यसले कतै त्यो गाउँको बस्ती पनि कुनै दिन शून्य हुनेछ भन्ने पूर्वसंकेत गरेको त थिएन ?
पाठशालाको केही पर चौरमा रोटेपिङ थियो । त्यो पिङ चलेको मैले कहिल्यै देखिनँ । त्यसका दुई खम्बा, मानी र चारवटा बाहाँ सुनसान झुन्डिरहेका हुन्थे– थाकेर विश्राम लिएझैं । विद्यार्थीहरू त्यसका बाहाँलाई त्यसै घुमाइदिन्थे– अनि त्यो घ्वाँइँइँय्यँ आवाज गर्थ्यो– मलाई डिस्टर्ब नगर भनेजस्तो गरी ।
पाठशालाअगाडि सानो आँगन थियो । त्यसभन्दा तल एउटा पुरानो चौतारो थियो, अझै छ । चौतारामा वर र पीपलका बूढा रूख उभिएका छन्– बिदेसिएका सन्तानले छोडेका बाबुआमाजस्ता । तिनका केही हाँगा मक्किएर जमिनमा खसेका छन् । सायद त्यस चौतारोमा बसेर भानुभक्तले पनि कविता लेखेका थिए । केही तलतिर एउटा पोखरी थियो– रामायणमा वर्णित किष्किन्धाको पम्पा तलाउजस्तो । त्यहाँको पानीमा एक रहस्यमय सौन्दर्य थियो । पौराणिक कथामा वर्णित वातावरणको यथार्थ थियो त्यहाँ ।
स्कुलबाट देखिने हिमालतिर एकटक हेरेर म आधा घण्टा बसिरहेँ । हिमालले भन्यो— तिमी र म पहिले पनि टाढै थियौं । अहिले त झन् टाढा भयौँ । तिमी कता गयौ ? पहिले मेरो कम्मरभन्दा तलसम्म हिउँ थियो । अहिले छातीमाथि मात्र हिउँ छ । तिमीले देख्यौ ? केही वर्षपछि टाउकोमा मात्र होला । पृथ्वी तात्दै गएको छ । थाहा छ ?
पहिले स्कुलबाट मेरो घर पनि देखिन्थ्यो । अब त्यो ढलेर पाताल भइसक्यो । तैपनि म त्यतै लागेँ । बाटोका रूखले मलाई भने— धेरै वर्षसम्म तिमी यही बाटो स्कुल आए–गएको हामीले हेर्‍यौं । तर तिमी कता गयौ ? धेरै पछि आयौ । धेरै पढ्यौ रे— अब तिमी हाम्रो भाषा बुझ्ने भयौ त ? रूखहरूको पनि भाषा हुन्छ— मौन भाषा, थाहा छ ?
म केही नबोली निहुरिएको अनुहारले अघि बढिरहें । रम्घा पाठशालाबाट मेरो घर पुग्न मलाई बीस मिनेट जति लाग्थ्यो । म घरबाट गुरुको पछिपछि लागेर पाठशाला जान्थेँ । पाठशालामा एक मात्र गुरु हुनुहुन्थ्यो रुद्र शंकर, बनारसबाट संस्कृत मध्यमा पास गरेका पण्डित । उहाँ बितेको त करिब साठी वर्ष भयो । हामी विद्यार्थीहरू भुइँमा परालको थर्कटीमा या मकैको खोसेल्टाले बुनेको चकटीमाथि भित्तामा अडेस लगाएर लहरै बस्थ्यौं । ठूला विद्यार्थी गुरुको नजिकमा । मजस्ता साना केटाकेटी अलिक टाढा । सायद त्यहाँ विद्यार्थीको अघोषित रोलक्रम थियो, तर हाजिरी लिइँदैनथ्यो ।
पाठशालामा बेन्च, ब्ल्याकबोर्ड हुन्छन् भन्ने कुरा हाम्रो कल्पनामा थिएन । बस्ने कुर्सी त गुरुलाई पनि थिएन । गुरुका लागि माटाको चौकी बनाएको थियो । उहाँ त्यसमाथि एउटा गुन्द्रीमा पूर्व फर्केर बस्नुहुन्थ्यो, कुनै धर्मकार्य गर्न बसेको पुरोहितजस्तै । पाठशालामा एक जना पियन थियो, उसको नाम पहलमान, ऊ हाम्रो हनुमान् । धेरै तल पँधेराबाट माटाको घैंटोमा पानी ल्याएर कुनामा राख्थ्यो— तिर्खाएका हाम्रा लागि ।
रम्घा पाठशालामा बाह्र–तेह्र जना विद्यार्थी थियौं— पाँच वर्षदेखि चौध–पन्ध्र वर्षसम्मका केटाहरू थिए । तीन–चारओटी केटीहरू पनि पढ्थे, तिनले सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी घोकेको मैले सुनें । मलाई पनि कण्ठ भयो । को कति कक्षामा पढ्ने हो थाहा थिएन, कक्षा असान्दर्भिक थियो त्यहाँ । कुनै फाइनल जाँच पनि हुन्नथ्यो । जसलाई जे पढ्न मन लाग्यो वा अभिभावकले जे पढ्न पठायो त्यही पढ्थे । कोही अमरकोष घोक्थे, कोही रुद्री, चण्डी, लघु कौमुदी र रघुवंश पढ्थे, उमेरअनुसार । केही गुरुङ, नेवार, मगर र घर्ती केटाहरू ‘ठूलो वर्णमाला’ भन्ने किताबबाट अक्षर चिन्ने र केही जोडघटाउ हिसाब सिक्ने गर्थे । दुई एकान दुई भन्दै दुनोट सबैले घोक्थे ।
म पाठशालामा सबैभन्दा सानो उमेरको विद्यार्थी । मेरो एक मात्र किताब थियो— अमरकोष (पद्यात्मक संस्कृत शब्दकोश) । त्यसका श्लोकहरू नबुझीनबुझी कण्ठ पार्नु दिनभरको मेरो सफलता । मेरो पढाइलाई कसैले सिरियस रूपमा लिएको थिएन । मबाट कुनै पढाइको अपेक्षा पनि गरिएको थिएन । म पढ्नभन्दा रमाइलोका लागि पाठशाला जान्थें । आफ्नो पाठमा होइन, अरूको पाठमा ध्यान दिन्थेँ । म पढेर भन्दा सुनेर सिक्थेँ ।
म मेरो घर पुगेँ । त्यहाँ खण्डहर मात्र थियो । घरका गाह्रोका राम्राराम्रा ढुंगा पनि कसैले लगिसकेको थियो । मेरो घर एउटा ढुंगा–माटोको थुप्रो बनेको थियो, आँगनमा घाँस उम्रेको र त्यो पनि बुढिइसकेको । आँगनले मलाई भन्यो— तिमी यहाँ भाइहरूसित खेल्थ्यौ । राज्य खेल्थ्यौ, पांग्रा खेल्थ्यौ, गुच्चा खेल्थ्यौ । हिउँदमा गुन्द्री ओच्छ्याएर घाम ताप्थ्यौ, अमरकोष घोक्थ्यौ । यहाँ तुलसीमठ पनि थियो । त्यो मौन आवाज मैले निहुरिएर दुवै हत्केलाले मुख छोपेर धेरै बेरसम्म सुनिरहें ।
अनि म घरमुनिको पानीको पँधेरो गएँ । बाटोका पर्खाल भत्किएका थिए । दुवैतिरका कटुस, चिलाउने र रिठ्ठाका रूखले भने— धेरै पछि आयौ, बूढै भएछौ । हामी त झन् बूढा भयौँ । तिमी भुइँमा झरेका कटुस टिप्थ्यौ । रिठ्ठा टिप्थ्यौ । फूलको सुगन्ध सुँघ्थ्यौ । तिमी कहाँकहाँ पुग्यौ ? हामी त यहीँ छौं । जिउँदै छौं— सायद अब केही समयका लागि मात्र ।
रूखहरूको सुसाहट सुन्दै पानीको कुवामा पुगें । कुवाले भन्यो— तिमी त्यो ठूलो ढुंगामा नुहाउँथ्यौ । तिमीले नुहाउँदा संस्कृतको स्तोत्र भन्थ्यौ— मातः शैलसुता–सपत्नि वसुधा.... । ओडारजस्तो मेरो छातीमा त्यो स्तोत्र प्रतिध्वनित हुन्थ्यो । म बुझ्निथेँ, तर मलाई राम्रो लाग्थ्यो । अहिले पनि म त्यसको रन्को सम्झिन्छु । कुवाले फेरि भन्यो— एक साँझ पानी उबाउँदा धागो चुँडेर तिम्री आमाले सुनका नौगेडीका सबै दाना कुवाभित्र खसाउनुभयो । गहिराइबाट नौगेडी झिक्न सक्नुभएन, पानी मात्र लिएर फर्कनुभयो । रातभर मैले ती दाना सुरक्षित राखेँ, भोलिपल्ट बिहान सबेरै बा आएर डाडु र ताप्केले उबाएर झिक्नुभयो । सम्झना छ तिमीलाई ? कुवाले अझै भन्यो— यस्तै कुवामा पानी खान गएका वनवासी पाण्डवहरूलाई यक्षले रोकेको थियो । युधिष्ठिरले उसका सबै प्रश्नको जवाफ दिएपछि मात्र उनीहरूले पानी खान पाएका थिए । मभित्र पनि एउटा महाभारत छ, प्राचीनकालको लामो कथा छ ।
अनि म कुवामाथि केही सिँढी उक्लेर शिवालय गएँ । शिवलिंगमाथि तामाको रित्तो जलहरी झुन्डिरहेको थियो, मौसमको प्रभावले हरियो भएको । म आफ्नो बाल्यकालमा झैं पूर्व फर्किएर ध्यानमुद्रामा पलेंटी मारेर बसेँ । अग्लो रूखको हाँगाबाट एउटा फूल खस्यो मेरो अगाडि । फूलले मलाई भन्यो— तिमी गाउँ छोडेर गयौ । तिमी कुवामा नुहाएर यहाँ आई शिवजीलाई पानी चढाउँथ्यौ र भन्थ्यौ, नमस्ते रुद्र मन्यव उतो त इषवे नमः । अब यहाँ पानी चढाउन कोही आउँदैन । कहिलेकाहीं बादलले पानी चढाउँछ । हामी रूखमाथिबाट शिवलिंगमा फूल खसाउँछौँ । यहाँ शिवजी मानिसको होइन, प्रकृतिको देवता बन्नुभएको छ । जंगलको जटा फिँजाएर धूर्जटि आफ्नो मौलिक स्वरूपमा विराजमान हुनुहुन्छ । तिमी यहाँ डमरुको मौन आवाज सुन । म त्यहाँ एक घण्टा ध्यानावस्थित भएर उठेँ । त्यताबाट फेरि बेंसीतिर ओर्लिन थालें । बाटोमा तिन्दूका फल पाकेर झरेका थिए । उहिले हामी टिपेर खान्थ्यौं । अब चराचुरुंगीले खान्छन्— प्रकृति माताले उनीहरूलाई दिएको ।
जंगलको बीच बाटोमा चौताराहरू, आँप र सालका रूखहरू थिए, आ–आफ्नो कथा भन्दै । राइनी बूढीले बनाएको चौतारोमा पुगेँ । गरिब भए पनि धर्मात्मा थिइन् रे भानुभक्तलाई अर्ती दिने घाँसीजस्तै । अलि तल लोहोरे आँपको रूखले भन्यो— म त पहिल्यै बूढो थिएँ— अहिले झन् बूढो भएँ । फल लाग्न छोड्यो । अब मलाई काटकुट गरेर तल बेंसीको इँटा भट्टामा पोल्छन् रे भन्ने सुनेको छु ।
अलि तल पोखरी डाँडामा पुगें । सम्भार नहुँदा पोखरी पुरिइसकेको थियो । अनि अझ तल साल चौतारा पुगें । सालको रूखले भन्यो— तिम्रा बा बाह्र–तेह्र वर्षको उमेरमा एक दिन अमरकोषको किताब घोक्दै बेंसी झर्दै हुनुहुन्थ्यो । पछिपछि आएकी तिम्री हजुरआमाले भेट्टाउनुभयो । बा ढिलो हिँडेकोमा रिसाउनुभयो । किताब खोसेर फ्याँकिदिनुभयो । लेउ लागेको ढुंगामा बज्रिएर किताबको पाना हरियो भयो तर बा रिसाउनुभएन । किताब टिपेर अघि बढ्नुभयो । बेंसी पुगेर गाईबस्तु फुकाई किताब पुछपाछ गरेर घाममा सुकाउनुभयो । लेउ लागेको अमरकोषको पंक्ति थियो— सम्पत्तिः श्रीश्च लक्ष्मीश्च विपत्यां विपदापदौ (सम्पत्ति र विपत्तिको लुकामारी हो जीवन) ।
अलि तल अमलाको रूख थियो— तर फल थिएनन् । अझ तल झरेर ज्यादै बूढो आँपको रूखलाई अँगालो हालेँ हजुरबुबालाई भेटेजस्तो गरी । उसले भन्यो— म त तिम्रा बाआमाकै पालामा बूढो भइसकेको थिएँ । तिमीहरूको बाल्यकालमा त झन् बूढो । मेरा बूढो शरीरमा एकाध फल लाग्थे । तिमीहरू खान्थ्यौं । बूढेसकालको फल हुनाले होला, मिठो भएन भनेर मलाई ‘फ्याल्ले’ आँप भन्थ्यौ । माथिको लोहोरे आँप र म वृद्ध जटायु र सम्पातिजस्ता भइयो, ढल्न मात्र बाँकी छ । तल ऊ पातली आँप हेर । त्यो मेरी छोरी हो । त्यसमा पनि आजकल फल लाग्न छोड्यो, बूढी भई ऊ पनि ।
म तल झर्दै गएँ । अम्बा, आँप र बेलका रूखहरूले पनि के–के भनिरहेका थिए । तल बेंसीमा पुग्दा खोलो कसैलाई नसोधी अविरल बगिरहेको थियो । खोलो अहिले धसिएर गहिरो खोंच बनेको थियो । खोलो तरेर अघि बढ्दा त्यही बूढो सिमलको रूख, तिनै बूढा अम्बाका रूख, तिनै बूढा आँपका रूख–बाटोका दायाँबायाँ । फरक यत्ति थियो कि त्यस बाटोमा मानिस हिँड्न छोडेका थिए । मेरो बाल्यकालमा मेरो बाले यही बाटो संस्कृत कविताहरू भन्दै हिँडेको मैले देखेको थिएँ । उहाँ भन्नुहुन्थ्यो—
यामेव रात्रिं प्रथमामुपैति
गर्भे निवासं नरवीरलोकः ।
ततः प्रभृत्यस्खलितप्रयाणः
स प्रत्यहं मृत्युसमीपमेति ।
(जुन रात मानिस आफ्नी आमाको गर्भमा प्रवेश गर्छ, त्यसै रातदेखि नै ऊ एक क्षण पनि नरोकिईकन हरेक दिन मृत्युको समीप गइरहेको हुन्छ ।)
म जाँदा उकालो चढेर गएको थिएँ । फर्किंदा ओरालो ओर्लेर फर्किंदै थिएँ ।

 

सन्दर्भ

प्रयागराज : एक बोटानिस्ट

- डा. तीर्थबहादुर श्रेष्ठ


विसं २०१७ सालमा त्रिचन्द्र कलेजबाट बीएस्सी (बायोलजी) पास गरेर वनस्पति अड्डा छिर्दा हाकिमबाजे प्रयागराज पाण्डेजस्तो ठूलो जीउको मान्छे मैले सायद देखेकै थिइनँ । उहाँले पनि मजस्तो दुब्लो केटा नदेखेको हुनसक्छ । मेरा प्राध्यापक समरबहादुर मल्लले ‘जागिर खान्छौ’ भनेर नयाँ सडकबाटै मलाई टिपेर लगेका थिए । भोलिपल्टैबाट जागिरे भएँ– असिस्टेन फर्मासिस्ट । महिनाको तलब रु. १८०/– (एक सय असी रुपैयाँ) । महिनाको तलब नथाप्दै एमएस्सी बोटानी पढ्न भारतको अलिगढ जाने छात्रवृत्तिमा नाम निस्कियो । वन मन्त्रालयले ‘जागिर छोडेर जाऊ’ भन्यो । प्रयागराज पाण्डेले मेरो लागि अध्ययन बिदा मिलाई छाडे । आधा तलब खाएर दुई वर्षपछि विभागमा हाजिर भएँ । त्यसपछि प्रत्येक वर्ष जडीबुटी र वनस्पति सर्वेक्षण गर्ने र वनस्पतिका नमुना संकलन गर्ने काममा मेची–महाकाली भ्रमण गर्ने अवसर आयो ।
अरूको सम्झनामा बाँचिरहने मानिसहरू नै पूजनीय हुन्छन् । यस्ता व्यक्तिहरूको स्मरण चिराग बोकेर समाजलाई सही बाटोमा डोर्‍याउन सकिन्छ । यसै सिलसिलामा आजभन्दा ३४ वर्षपहिले परलोक भएका स्वर्गीय प्रयागराज पाण्डेको शतवार्षिकी वर्ष (विसं १९७६–२०७६) को विभिन्न कार्यक्रमहरू पूरा गरेर यही असार १८ गते उहाँको १०१ औं वर्ष पूरा हुने जन्म दिवस मनायौं । नेपालका प्रथम बोटानिस्ट प्रयागराज पाण्डे फाउन्डेसन नामक संस्थाले नेपालको वानस्पतिक वैभवको संरक्षण, संवर्द्धन र विकासको फाँटमा नयाँ पुस्ता र पुराना पुस्ताका वैज्ञानिक, प्राविधिक एवं प्रतिष्ठित व्यक्तिहरूको अन्तरक्रिया र सहकार्यको सिलसिला अगाडि बढाउने काम भयो । संस्थापक अध्यक्ष श्री मधुसुदन विष्ट (पूर्वमहानिर्देशक वनस्पति विभाग) तथा सहअध्यक्ष श्री विमलराज पाण्डे (प्रयागराज पुत्र) लगायत कार्यकारी समितिका सबै सदस्यहरू बधाईका पात्र पनि हुन् ।
प्रयागराज पाण्डेलाई नेपालका प्रथम बोटानिस्ट किन भनियो भन्ने प्रश्न उठ्ने गरेका छन् । किनभने जडीबुटी, वन–वनस्पतिका विशेषज्ञहरूको खोजीनिती गर्न थाल्यौं भने रामायणकालसम्म पुगिन्छ । लक्ष्मणबुटी श्री हनुमानले चिन्न सकेनन् । त्यसलाई वैद्य सुसेनाले चिने । यस्तै हाम्रा वैद्य, कविराज, आम्ची, धामी, झाँक्री, गुरुबा वा फेदाम्नाहरूलगायत पर्वतीय गोठालाहरू जडीबुटी विषयका ज्ञाता हुन् । पण्डित धननाथ देवकोटाले चन्द्रशमशेरको पालामा जडीबुटीसम्बन्धी निघन्टु तयार गरिसकेका थिए । वानस्पतिक सर्वेक्षणको इतिहासमा लालध्वज (सन् १९२९–३१) तथा खडानन्द शर्मा (सन् १९३२–३७) को विरुवा संकलन–अवधि कीर्तिमानी थियो ।
प्रयागराज पाण्डेको कथा बेग्लै छ । बोटानी (वनस्पतिशास्त्र) विधामा एमएस्सी (स्नातकोत्तर) परीक्षा उत्तीर्ण गरी सन् १९४२ मा इलाहावाद विश्वविद्यालयबाट प्रमाणपत्र थापे । नेपाल सरकारको वन मन्त्रालयअन्तर्गत स्थापित बोटानिस्ट पदमा बहाली गरे । औपचारिक शिक्षा र सरकारी पदको हैसियतले उहाँ नेपालको प्रथम बोटानिस्टको रूपमा परिचित हुनुहुन्छ । हामी उहाँलाई प्रथम बोटानिस्टको रूपमा स्मरण गर्छौं तर सम्मान भने उहाँको बहुआयामिक देनप्रति समर्पित छ । संस्थागत विकासको सफलतातिर लक्षित छ ।
मैले २०१७ सालमा वनस्पति फाँट नामक अड्डामा प्रवेश गरेदेखि नै उहाँ हामीलाई एउटा सपना बाँड्नुहुन्थ्यो । हिमाली जडीबुटीलाई चिन्ने, बेलैमा संकलन गर्ने, सफा गर्ने, सुकाउने र पिठ्युँमा बोकेर निकासीका लागि साहुकहाँसम्म पुर्‍याउने गाउँले दिदीबहिनी, दाजुभाइका पसिनाको मूल्य कसरी चुकाउने ? रोग, भोक र गरिबीलाई जडीबुटीले कसरी पखाल्ने ? देशभित्रै जडीबुटी प्रशोधन र औषधि उत्पादन कसरी गर्ने ? भन्नुहुन्थ्यो– हाम्रो लक्ष्य ‘प्लान्ट्स टु प्रोडक्ट’ हो ।
विसं २०१७ सालमा पकनाजोलको कम्पुकोटभित्र रहेको सानो २/३ कोठे अड्डा २०१९ सालमा थापाथलीको ११/१२ रोपनीमा फैलिएर शाही औषधि अनुसन्धानशाला, औषधि उत्पादन केन्द्र, गोदाबरीमा शाही वनस्पति उद्यान, राष्ट्रिय हर्वेरिएम (वनस्पति संग्रहालय) एवं वनस्पति अनुसन्धान केन्द्र, विभिन्न क्षेत्रमा जडीबुटी फार्महरू जस्तै ः शिवपुरी, मणिचुर, दामन, टिस्टुङ, हेटौंडा, धरान एवं व्यापार र प्रशोधन केन्द्र नेपालगन्ज तथा कोइलाबास स्थापना भएका थिए । यिनै संस्थाका गर्भबाट शाही औषधि लिमिटेड, जडीबुटी प्रशोधन तथा उत्पादन लिमिटेड कम्पनी एवं औषधि व्यवस्था विभागको पनि जन्म भयो । लगभग १० वर्षभित्र वनस्पति विभाग विज्ञान तथा प्रविधि क्षेत्रमा विशेषतः वनस्पतिशास्त्र, फार्मेसी (औषधि विज्ञान) एवं रसायनशास्त्र (केमेस्ट्री) मा नेपालका अगुवा संस्थाका रूपमा परिचित हुन पुग्यो ।
प्रयागराज पाण्डेको विकास रणनीति भन्नु नै जनशक्तिको विकास र उच्च शिक्षाको प्राथमिकता थियो । युवा शक्तिलाई तुरुन्त भर्ना लिने र उच्च शिक्षाको अवसर प्रदान गर्ने । वनस्पति विभागमा जागिर खाएपछि दुई वर्षभित्र बेलायत जान पाइन्छ भन्ने मान्यता नै स्थापित हुन थाल्यो । तर, नेपालको दुर्गम भ्रमण गर्छु भन्नेलाई मात्र प्रवेश मिल्थ्यो । त्यसो भए तापनि थुप्रै महिला वैज्ञानिकहरूले वनस्पति विभाग प्रवेश गरे र पैदलयात्रामा देशदर्शन गरे । त्यसका अतिरिक्त आफैंले प्रयोगशालामा उत्पादन गरेका औषधिहरू पनि बजारीकरण गर्न असन इन्द्रचोक चहारे । हाकिमबाजेले खटाएपछि महिला र पुरुष सबै उत्तिकै आज्ञाकारी । हाल बजारमा देखिने सिटामोल र सन्चोको पहिलो ट्याब्लेट वा सिसी वनस्पति विभागका महिला प्राविधिक कर्मचारीकै हातबाट विमोचन भएको मान्न सकिन्छ । संस्थागत विकासलाई गतिशील बनाउन नयाँ योजना र नयाँ कार्यक्रमहरूको आवश्यकता पर्छ । नयाँ दरबन्दी र उच्च पदको सिर्जना गर्न सरकारलाई वा दातृ संस्थाहरूलाई ठोस प्रभाव पार्न सक्ने विशेष क्षमता थियो उहाँमा । फलस्वरूप कर्मचारीहरूको वृत्ति विकासका अवसरमा पनि कमी थिएन ।
नेपालको वानस्पतिक वैभवको खोजी र अनुसन्धानमा बेलायत, जापान तथा फ्रान्सलगायत धेरै राष्ट्रहरू चासो राख्छन् । तिनलाई वनस्पति विभागको दायराभित्र ल्याउने काममा प्रयागराज पाण्डेको विशेष भूमिका रह्यो । विदेशका दक्ष वैज्ञानिकहरूसँग हाम्रा वैज्ञानिकहरूको सहकार्य प्रारम्भ भयो । नेपालको स्थलगत अध्ययन मात्र होइन विदेशका ख्यातिप्राप्त संस्थाहरूमा अध्ययन गर्न जाने सिलसिला पनि बस्यो ।
फलस्वरूप मैले पनि बृटिस म्युजियम, क्यु–गार्डेन, इडिनवरा गार्डेनमा हिमाली वनस्पतिबारे विशेष तालिम प्राप्त गरें । त्यसपछि फ्रान्सको ग्रनोवलबाट विद्यावारिधि पनि गर्ने मौका मिल्यो । जहाँ पुगे पनि जस्तै तालिम लिए पनि हामी नेपालमै फर्केर आयौँ किनभने यहाँ वनस्पति विभागजस्तो कार्यालय थियो र प्रयागराजजस्ता हाकिम थिए ।

 

Page 7
फिचर

मर्यादाको मूल

- सुजित मैनाली

 

मर्यादा बकसमा हासिल हुने चीज होइन । यो चाँदीको किस्तीमा अरूले श्रद्धावश अर्पण गर्ने भेटी पनि होइन । यो आर्जन गरिने चीज हो, जुन व्यक्ति र राज्य दुवैको हकमा लागू हुन्छ । राज्य अमूर्त हुने भएकाले यसको मर्यादा यसलाई प्रतिनिधित्व गर्ने व्यक्तिमा निर्भर रहन्छ । मर्यादा कसरी आर्जन हुन्छ भन्ने थाहा पाउन यसको मूल स्रोत
केलाउनुपर्ने हुन्छ ।

सामर्थ्यको सार
‘मत्स्य न्याय’ को सिद्धान्तअनुसार, मर्यादाको स्रोत सामर्थ्य हो । सामर्थ्यको प्रधान्यलाई अनुमोदन गर्ने यो यथार्थवादी दृष्टिकोण हो । यस दृष्टिकोणबारे अझ राम्रोसँग बुझाउन महाभारतको एउटा प्रसंगले मद्दत गर्छ । चीरहरणका बखत द्रौपदीले सभामा उपस्थित बुज्रुकहरूसँग धर्म के हो भनी प्रश्न गर्छिन् । जवाफमा भीष्मले भन्छन् (सभापर्व, १५।६९), ‘संसारमा बलवान मानिसले जेलाई धर्म बताउँछन्, अन्य मानिसले त्यसैलाई धर्म मान्छन् । कमजोर व्यक्तिले बताएको धर्म बलियो व्यक्तिको धर्ममुनि दबिन्छ ।’ धर्मको यस्तो परिभाषा गरेर भीष्मले आफूलाई परोक्ष रूपमा द्रौपदीविरोधी खेमामा उभ्याएका हुन्छन् । त्यतिबेला कौरवहरूसँग सत्ता र शक्ति दुवै भएकाले द्रौपदीसहित पाण्डवहरूको मर्यादा कौरवहरूको चाहनामा निर्भर छ भन्ने मत भीष्मको हुन्छ ।
शक्तिबाट निःसृत मर्यादाबारे बुझाउन चीन–बेलायत सम्बन्धको एउटा घटना सहायक सिद्ध हुन सक्छ । अफिम युद्धअघि चीन आफूलाई संसारकै शक्तिशाली मुलुक ठान्थ्यो । कागज, छापा मेसिन, गनपाउडरदेखि संसारकै ठूलो पानीजहाज निर्माण गर्ने अग्रणी मुलुक हुनुको दम्भ चीनसँग थियो । मर्यादालाई लिएर बेलायतसँग एकपटक चीनको रस्साकस्सी पर्‍यो । बेलायतले त्यतिबेला आफूभन्दा कैयौं गुणा ठूला राज्यहरूलाई अधीन गरिसकेको हुनाले उसको तुजुक पनि सानो थिएन । अठारौं शताब्दीको अन्त्यताका मर्यादालाई लिएर यी दुई देशबीच भएको रस्साकस्सीको विवरण अत्यन्तै रोचक छ ।
त्यतिबेला चिनियाँहरू आफ्ना सम्राट्लाई ‘सेलेस्टियल एम्पेरर’ अर्थात् सम्पूर्ण चराचर
जगत्माथि आधिपत्य भएका ‘देव सम्राट्’ मान्थे । त्यतिन्जेल चीन विदेशी शक्तिसँग पराजित भएको थिएन । त्यसैले बाँकी मुलुकहरू चीनलाई सलामी तिरेर आश्रित राज्य बन्न मात्र योग्य छन् भन्ने बुझाइ चिनियाँहरूको थियो । चीनले त्यतिबेला विदेशी व्यापारीहरूका लागि ग्वान्झाउको समुद्री नाका मात्र खोलेको थियो । समग्र एसियामा व्यापार बढाउन लालायित बेलायतले थप समुद्री नाका खुला गरिदिन र बेइजिङमा आफ्ना प्रतिनिधिलाई स्थायी रूपमै बस्ने अनुमति दिन आग्रह गर्दै आएको थियो । चीनले मानिरहेको थिएन । त्यसैले सोझै चिनियाँ सम्राट्सँग भेटेर आफ्ना प्रस्तावहरूप्रति उनलाई सहमत गराउने सोचमा बेलायतीहरू थिए । तर, चिनियाँ अधिकारीले बेलायती प्रतिनिधिलाई आफ्ना सम्राट्सँग भेट गराउन चाहिरहेका थिएनन् । आलटाल गर्ने, मिति पञ्छाउने गर्दै आएका थिए ।
लामो प्रयत्नपछि बेलायतीहरूले सम्राट्सँग ‘दर्शनभेट’ को समय पाए । करिब सात सय प्रतिनिधिसहितको इस्ट इन्डिया कम्पनीको टोली सन् १७९२ को सेप्टेम्बरमा समुद्री मार्ग हुँदै ग्वान्झाउतिर हिँड्यो । सम्राट्लाई प्रभावमा लिन भनेर बेलायती राजाले दूरविन, एयरगन, घडीलगायत विज्ञान–प्रविधिका क्षेत्रमा बेलायतले हासिल गरेका उपलब्धि झल्काउने सामग्री सौगातबापत पठाएका थिए । त्यस प्रतिनिधिमण्डलका नाइके थिए,
जर्ज म्याकार्टनी ।
ग्वानझाउ ओर्लिएर बेइजिङ पुगी सम्राट्सँग भेट गर्न उनीहरूलाई एक वर्ष लाग्यो । सम्राट्सँग भेट हुनुभन्दा करिब ६ साताअघिदेखि बेलायती टोलीलाई सम्राट्का अगाडि मर्यादित रूपमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिन थालियो । म्याकार्टनीलाई दुवै घुँडा टेकी टाउकाले तीनपटक भुइँ छोएर सम्राट्प्रति सम्मान दर्साउन भनियो । त्यस्तो गर्न म्याकार्टनीको मर्यादाले दिएन । टोपी फुकालेर एउटा घुँडा टेकी सम्राट्को हात चुम्न आफू तयार रहेको उनले बताए । तर, कुनै पनि हालतमा दुवै घुँडा नटेक्ने अडान लिए । चिनियाँहरूले मानेनन् । यदि चिनियाँहरूले भनेबमोजिम आफूले गर्नैपर्ने भए आफूसरहका चिनियाँ राजप्रतिनिधिले पनि बेलायती राजा जर्ज तृतीयको तस्बिरसामु त्यसैगरी सम्मान दर्साउनुपर्ने सर्त उनले राखे । त्यस घटनाबारे बेलायती लेखक मार्टिन ज्याक्सले ‘ह्वेन चाइना रुल्स द वर्ल्ड’ मा लेखेका छन्, ‘चिनियाँहरू यसमा सहमत हुने कुरै थिएन किनकि चिनियाँ सम्राट् ‘सम्पूर्ण चराचर जगत्का अधिपति’ थिए, उनले फगत एउटा देशका राजालाई आफूसरहको मान्ने प्रश्नै थिएन ।’
मार्टिनले सम्राट्सँगको भेटमा म्याकार्टनीले कसरी शिष्टाचार दर्साएका थिए भन्नेबारे उल्लेख गरेका छैनन् । यसबारे तत्कालीन विवरणले भन्छ, ‘आफ्ना राजालाई जसरी सम्मान दर्साउने चलन बेलायतमा छ, त्यसरी नै चिनियाँ सम्राट्लाई आफूले सम्मान दर्साउने अडानबाट म्याकार्टनी टसमस भएनन् । अर्थात्, टोपी फुकालेर एउटा घुँडा टेकी
सम्राट्को हात चुम्न उनी राजी भए । उनलाई गलाउन नसकेपछि ‘टाँढाको यी बर्बरहरूले चिनियाँ संस्कार के बुझुन् π’ भनेर चिनियाँहरूले उनकै प्रस्ताव अन्ततः स्विकारे । शिष्टाचारका क्रममा हात चुम्ने प्रसंगचाहिँ झिकिदिए ।’
रोचक कुरा के छ भने म्याकार्टनी बेइजिङमै छँदा नेपाल र चीन युद्धरत थिए । यी दुईबीच मध्यस्थता गर्ने बहानामा दुवै पक्षसँग आफ्नो हित हुनेगरी सम्बन्ध बढाउने ताकमा इस्ट इन्डिया कम्पनी थियो । कम्पनी सरकारको मध्यस्थतामा तिब्बतलाई लिएर नेपालसँग चीनको सन्धि गराउने प्रयोजनमा आवश्यक परेछ भने बेइजिङमै रहेका म्याकार्टनीलाई परिचालन गर्न सकिने सम्भावनाबारे कम्पनी सरकारका प्रतिनिधि बनेर त्यतिबेला काठमाडौं आएका कर्णेल कर्कप्याट्रिकले गभर्नर जनरलका लागि तयार पारेको तत्कालीन लिखतमा उल्लेख गरेका छन् ।
आफ्ना राजालाई एउटा घुँडा टेकेर सम्मान दर्साउने बेलायतीहरूलाई नेपालका भारदारले यहाँका राजासँग उभिएरै देखभेट गर्ने गरेको दृश्यले विस्मित तुल्याउने गर्थ्यो । जंगबहादुर बेलायतबाट फर्किएपछि श्रीलंकाबाट उनीसँगै काठमाडौं आएका बेलायती प्रशासक लरेन्स ओलिफेन्टले आफ्नो किताब
‘अ जर्नी टु काठमान्डु’ मा यसबारे उल्लेख गरेका छन् । बेलायतबाट फर्किएपछि राजा सुरेन्द्रविक्रमसँग भेट हुँदा जंगबहादुरले दुवै हात बाँधी घुँडा नटेकीकनै कुरा गरेको प्रसंगबारे उल्लेख गर्दै ओलिफेन्टले यसबाट जंगबहादुर नेपालका सर्वेसर्वा हुने भन्ने कुरा सिद्ध भएको लेखेका छन् । ओलिफेन्टको विवरण पढ्दै गर्दा बेलायतीले झैं आफ्ना राजालाई घुँडा टेकेर सम्मान दर्साउने चलन नेपालमा थिएन भन्ने हामीले हेक्का राख्नुपर्छ ।
चिनियाँ सम्राट्सामु चाहिँ नेपाली भारदारहरू दुवै घुँडा टेकेर प्रस्तुत हुने गर्थे । नेपाल–चीन युद्ध अन्त्य गर्नेगरी सन् १७९२ मा भएको सन्धिमा नेपालका राजाले हरेक पाँच वर्षमा चिनियाँ सम्राट्लाई सौगात पठाउनुपर्ने प्रावधान पनि थियो । सौगात पुर्‍याउन जाने नेपाली टोलीप्रमुखले चिनियाँ सम्राट्को अगाडि दुवै घुँडा टेकेर उभिनुपर्थ्यो ।
‘संस्थागत स्मृति’ राख्ने परम्परा हामीकहाँ निकै कमजोर रहेकाले बेइजिङ जाने नेपाली टोलीको अनुभव बताउने अत्यन्तै थारै सामग्री हामीसँग उपलब्ध छन् । औपनिवेशिक कालताका नेपालबारे कलम चलाएका अंग्रेज अधिकारीहरूले बरु शोधखोज गरेर त्यसबारे केही प्रकाश पारेका छन्, जसबाट हामीलाई बेइजिङ नियाल्ने आँखीझ्याल उपलब्ध भएको छ ।
बेलायतीहरूले संकलन गरेको विवरणअनुसार, नेपाली टोलीलाई चीन पुगेर फर्किन १८ महिना लाग्थ्यो । बेइजिङमा उनीहरू ४५ दिन रहन्थे । चिनियाँ सम्राट्को अगाडि परेपछि टोलीप्रमुखले दुवै घुँडा टेकी टाउकाले तीनपटक भुइँ छुनुपर्थ्यो । दुवै घुँटा टेकेरै सम्राट्सँग आफ्ना कुरा राख्नुपर्थ्यो । चिनियाँ सम्राट्को अगाडि कसैले पनि उभिन नपाउने भएकाले सम्राट्सँग भेट गर्न जाने जोकोहीले त्यतिबेला घुँडा टेक्न सजिलो होस् भनेर काखीमा सानो गलैँचा च्याप्ने गरेको नेपाली प्रतिनिधिमण्डलको अनुभवबारे शोधखोज गरी लेख्ने बेलायती सैन्य अधिकारी अर्फर क्याभिनाघले उल्लेख गरेका छन् । यदि बेलायतको शक्ति नेपालको जस्तै हुन्थ्यो भने राष्ट्रिय मर्यादालाई लिएर चिनियाँहरूसँग बेइजिङमै अडान लिने हुती के म्याकार्टनीसँग हुने थियो ?
व्यक्तित्वको बान्की
सबै सन्दर्भमा मर्यादा सामर्थ्यबाट निःसृतचाहिँ हुँदैन । सामर्थ्यको पनि सीमा हुन्छ । राज्यलाई प्रतिनिधित्व गर्ने व्यक्तिको ओजले राज्यको मर्यादा निर्धारण गरिदिएका प्रसंग इतिहासमा अनेक छन् । जिम्मेवार ओहोदाको मानिसले यदि आफ्नो मर्यादाको पर्वाह गर्दैन भने उसको देशप्रति विदेशीले गर्ने व्यवहार पनि तदनुरूपकै हुन्छ ।
यस सन्दर्भमा रणबहादुर शाहबारे उल्लेख गर्नु वाञ्छनीय हुन्छ । छोरा गीर्वाणलाई राजा बनाएर संन्यास धारण गरेका उनले आफ्नी प्रिय रानी कान्तवतीको मृत्यु भएपछि पुनः शासनसत्तामा फर्किन खोजे । आफू राजा भएको छनक दिनेगरी राजकाजमा सक्रिय भए । वैधानिक राजा छँदाछँदै रणबहादुरले सञ्चालन गर्न खोजेको समानान्तर सत्तालाई भारदारहरूले अनुमोदन नगरेपछि अप्ठेरोमा परिने डरले उनी काशीतिर भागे ।
कामुकतालाई लिएर रणबहादुर कुख्यात थिए । गाईगोरुको रतिक्रीडा नियाल्ने उनको अचम्मको सोख थियो । काशीमा छँदा संन्यासी अथवा पूर्वराजा दुवैलाई शोभा नदिनेगरी उनी अनेक स्त्रीसँग लहसिन थाले । संन्यास धारण गरेका राजपरिवारका सदस्यले दैहिक मोह नत्याग्नु त्यतिबेला असामान्य थिएन । परन्तु दैहिक आवश्यकता पूरा गर्ने क्रममा उनले राजोचित मर्यादा बिर्सिए । उनलाई काशीमा रहन–बस्न चाहिने जति रकम काठमाडौं दरबारले पठाउँथ्यो । अत्यन्तै खर्चालु स्वभावका उनी थप पैसा मागेर भारदारहरूलाई हैरान बनाउँथे । काठमाडौंबाट आएको पैसाले नपुगेपछि काशीका महाजन, इस्ट इन्डिया कम्पनी आदिसँग ऋण लिएर उनले दैहिक आवश्यकता पूरा गर्न थाले । यही मेसोमा जेठी रानी राजराजेश्वरीको गरगहनासम्म बेचिदिए ।
रणबहादुर फितलो स्वभावका छन् भन्ने थाहा पाएपछि इस्ट इन्डिया कम्पनीले उनको भरपूर उपयोग गर्‍यो । उनलाई मागेजति ऋण दियो । उनलाई मोहरा बनाएर काठमाडौंमाथि दबाब सिर्जना गर्न भनेर क्याप्टेन नक्सलाई उनको सुखसुबिस्ताको ख्याल गर्ने बहानामा खटायो । रणबहादुरले पनि हौसिँदै आफूलाई नेपालको सत्तामा पुनःस्थापित गर्न सघाए पहाड र तराईमा उठ्ने राजस्वको क्रमशः ३७.५ र ५० प्रतिशत हिस्सा कम्पनी सरकारलाई बर्सेनि बुझाउने प्रस्ताव राखे । त्यति धेरै राजस्व बुझाउनु असम्भव थियो ।
त्यसैले उनको प्रस्तावलाई अंग्रेजहरूले गम्भीरता–पूर्वक लिएनन् ।
उनलाई मोहरा बनाएर नेपालसँग वाणिज्य सन्धि गर्न कम्पनी सरकार सफल भयो । रणबहादुर आफूहरूको हातबाट फुत्किएलान् र उनलाई देखाएर काठमाडौंलाई अझ कज्याउने योजना चौपट होला भनेर ‘सापटी लिएको पैसा नतिरी कतै जान नदिने’ भन्दै उनलाई अघोषित बन्दी बनाइयो ।
विदेशीसँग व्यवहार गर्दा मर्यादाको अधिक ख्याल गर्ने नेपाली राजनीतिज्ञमध्येमा पर्छन्, जंगबहादुर राणा । भारतीय रजौटाका दिवानसरह नभई सार्वभौमसत्तासम्पन्न राजाका दूतको हैसियतले आफूलाई १९ तोपको सलामी, बेलायती महारानीसँग शिष्टाचार भेट र प्रधानमन्त्रीसँग राजनीतिक छलफलको अवसर दिन बेलायती प्रशासकहरूलाई राजी गराएपछि मात्रै उनी युरोपतिर लागेका थिए । बेलायत छिर्नै लाग्दा जंगबहादुरको मर्यादाको परीक्षण भयो । उनको टोलीको मालसामान भन्सारका कर्मचारीले जाँच्न खोजे, जुन पूर्वसहमतिको विपरीत थियो । म्लेच्छले छोएको सामान बिटुलो हुन्छ भन्ने विश्वास त्यतिबेला नेपालमा थियो । उसो त त्यो जंगबहादुरका लागि मर्यादाको कसी पनि थियो । आफ्नो टोलीका झिटीगुन्टा कसैले छोएमा त्यहीँबाट फ्रान्सतिर लाग्ने चेतावनी उनले दिए । अन्त्यमा झिटीगुन्टा नजाँच्ने निर्णयमा भन्सार कार्यालय पुग्यो ।
लन्डनमा आयोजित औपचारिक समारोहमा जंगबहादुरले स्पेनका राजदूतसँग एउटै लहरमा बस्ने चाँजोपाँजो मिलाएर देशको हैसियत बढाए । उनको सम्मानमा बेलायतमा राजकीय भोजहरू आयोजना गरिए । बेलायती राजकुमारको न्वारान समारोहमा महारानीले उनलाई आफ्नै छेउमा राखिन् । उनको इच्छाबमोजिम बेलायत र फ्रान्स दुवै देशले सैन्य परेड आयोजना गरिदिए ।
जंगबहादुरको प्रस्तुतिको बान्कीकै कारण बेलायती प्रशासकहरू उनीसामु मर्यादित रूपमा प्रस्तुत हुने गर्थे । उत्तर भारतमा भड्किएको सन् १८५७ को सिपाही विद्रोह दमन गर्न जंगबहादुरले सहयोग गर्नुअगावै अंग्रेज अधिकारीहरू उनीसँग मर्यादित ढंगले प्रस्तुत हुन थालिसकेका थिए । उनको पालामा नेपाल–अंग्रेज सम्बन्धलाई स्थिर तुल्याउन अंग्रेजहरू पनि तत्पर भए । यस्तो हुनुमा जंगबहादुरको व्यक्तित्वले पनि भूमिका खेलेको छ । यदि उनको प्रस्तुति रणबहादुरकै जस्तो फितलो हुन्थ्यो त नेपाललाई बेलायतले त्यतिबेला पनि गम्भीरतापूर्वक लिने थिएन ।
व्यक्तित्वमा मर्यादाको स्रोत केलाउँदै गर्दा राजा त्रिभुवन र उनका छोरा महेन्द्रबारे उल्लेख गर्नु पनि प्रासंगिक हुन्छ । त्रिभुवनलाई भारतीय नेताहरू गम्भीरतापूर्वक लिँदैन थिए किनकि उनको स्वभाव हलुको थियो । राजोचित मर्यादा बिर्सिएर उनी बिनाकाम कलकत्तातिर टहल्न गइरहने गर्थे । महेन्द्रले रत्नसँग बिहे गर्ने निश्चय गरेपछि ‘मैले हुँदैन भन्दाभन्दै त्यसले त्यो जुद्धेकी नातिनीसँग बिहे गर्ने ?’ भनी क्रुद्ध भएर कलकत्तातिर गई त्रिभुवनले छोरोको बिहे बहिष्कार गरेका थिए । बेला न कुबेला त्रिभुवन कलकत्ता पुग्न थालेपछि असहज महसुस गर्दै भारतीय प्रधानमन्त्री नेहरूले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई ‘राजा भारत आउनुहुन्छ र यहाँका झिनामसिना व्यापारी तथा महिलाहरूसँग नसुहाउने गरी हिमचिम गर्नुहुन्छ, उहाँलाई कृपया सम्झाउनुहोला’ भनी चिठी नै लेखेका थिए । बीपी कोइरालासँग पनि नेहरूले एकपटक त्रिभुवनका यस्तो हर्कतबारे गुनासो गरेका थिए ।
राजा नै त्यस्तो स्वभावका भएपछि भारतले नेपालसँग मर्यादित व्यवहार गर्न आवश्यक ठानेन । फलस्वरूप त्रिभुवनकै पालामा नेपालमा भारतीय सैन्य चेकपोस्ट स्थापना गरिए । राजदरबारमा भारत सरकारका कर्मचारी गोविन्द नारायण नियुक्त भए । भारतीय राजदूत सीपीएन सिन्हा नेपालका प्रधानमन्त्रीभन्दा बढ्ता प्रभावशाली बने । त्रिभुवनपछि राजा बनेका महेन्द्रको स्वभाव बाबुको भन्दा ठीक विपरित थियो । मर्यादालाई लिएर उनी सचेत थिए । त्यसैले बाबुको पालामा गृह, विदेश तथा प्रतिरक्षा मामिलामा भारतले लगाएको गलपासोबाट महेन्द्रले नेपाललाई धेरै हदसम्म मुक्त गरे । त्रिभुवन र महेन्द्र दुवैको पद एउटै थियो । तर, त्यसलाई ओगट्ने पात्रको व्यक्तित्व र आचरणले पदको गरिमा भिन्न बन्यो ।

निष्कर्ष
राष्ट्रिय मर्यादाको स्रोत राष्ट्रको क्षमता र उसलाई प्रतिनिधित्व गर्ने पात्रको व्यक्तित्व दुवै हो । तर, राष्ट्रिय सामर्थ्यको सीमा नाघेर नेहरू, टिटोलगायतले आफ्नो देशको मर्यादा उकासेका अनेकन उदाहरण हाम्रासामु छन् । सैन्य र आर्थिक दृष्टिले कमजोर राष्ट्रको सूचीमा पर्ने नेपालले यसबारे बढी हेक्का राख्न सक्नुपर्छ । ‘राष्ट्रहरू सानो–ठूलो हुन सक्छन्, तर सार्वभौमसत्ता र राष्ट्रिय मर्यादा सबैको समान हुन्छ’ भन्ने आदर्शवादी उक्ति कमजोर भएकाले हामीलाई कर्णप्रिय त लाग्ला, तर राष्ट्रलाई प्रतिनिधित्व गर्ने पात्रको प्रस्तुति ओजपूर्ण हुन सकेन भने यस्तो आदर्शले मात्र देशको मर्यादा उकास्न सक्दैन ।

फिचर

आमा किन रुनुभयो ?

- संगीता उरावँ

 

तराईमा खेती हराभरा हुन कि मेघ गर्जी पानी बर्सिनुपर्छ, कि त नहरमा एकनासले पानी दक्षिणतिर बग्नुपर्छ । नभए त्यही खेत हामीलाई कबड्डी कबड्डी, बम पलास्ट, सीमा कबड्डी, कोला कबड्डी, छुरर् खेल्ने ठाउँ हुन्थ्यो । स–साना घाँस उम्रन्थे । गाई, बाख्राहरू आफ्ना पेट भर्न नाकको प्वालबाट हावा निकाली धर्तीको धूलो फुर्र् फुर्र उडाई स–साना घाँस कुटुरकुटुर खान्थे ।
जनावर त बाँच्नका लागि यति मिहिनेत गर्छन् भने मान्छेहरू किन गर्दैनन् ? समुदायअनुसार, आर्थिक स्थितिअनुसार, संस्कृतिअनुसार मान्छेका खाने कुरा जोहो गर्ने तरिका फरक होलान् । हाम्रो उरावँ समुदायको पनि खानेकुरा जोहो गर्ने आफ्नै तरिका छ ।
नेपालका पूर्वी जिल्लामा केही हजार उरावँ छन् भन्ने कतै पढेकी हुँ मैले । मेरो घर सुनसरीको झुम्का भन्ने ठाउँबाट करिब २५ किलोमिटर भित्र गाउँमा पर्छ । कोसीबाट निकालिएको चकरघट्टी नहर झुम्का हुँदै मेरो गाउँ छिटाहासम्म पुग्छ र अझै भित्रसम्म जान्छ । त्यही नहरमा पौडी खेल्दै र माछा मार्दै हुर्कियौं हामी ।
प्रायः हाम्रा समुदायका मानिस जन (मेलापात) गएर खानेकुरा जुटाउँछन् । तरकारीका लागि टेंग्राखोला गयो भने अलि बन्दोबस्त गर्न सकिन्छ वा झाँक बनाएर लहरावाला तरकारी लाए पनि भैहाल्छ । जल्ली जुगठी (माछा मार्ने जाल) लिएर टेंग्राखोलासम्म पुग्नुपर्थ्यो ।
हामी केटीहरू कम्मरमा छैटी (ढाकी) लिएर जता गाईका बथान छन् त्यतै जान्थ्यौं । गाई, गोरु वा भैंसीले पुच्छर उठाउनासाथ छैटी लिएर
कुद्थ्यौं । लालका (रातो), पढरु (सेतो), करिया (कालो),
चिट्कबरा (चिटेपाटे), सबै गाईमा आँखा चनाखो हुन्थ्यो । किनकि छैटी भर्नुपर्थ्यो, गुइँठा बनाउन । गुइँठा नबनाए केमा पकाएर खानु १ हाम्रो समुदायमा दाउरा भनेकै गोबरको गुइँठा हो अझै । दसैंपछि गुइँठा बनाउन सुरु हुन्थ्यो । जोसँग सन्ठी छ, उनीहरू सन्ठीजस्तै लामो गुइँठा बनाउँछन् । सन्ठी नहुनेहरू खाल्डो खनेर गोबर जम्मा गर्छन् र तिहारपछि निकालेर गुइँठाको पाठ बनाउँछन् ।
मलाई लाग्थ्यो, केही कुरा तातो भएपछि मात्र बाफ आउँछ । जस्तै– बिहान कलको पानीसँग तातो बाफ आउँछ । भकभक भात उम्लिँदा आउँछ बाफ ।
एक चिसो बिहान खाल्डोमा जम्मा पारेको गोबर कोदालोले खन्दै छैटीमा राख्दै हुनुहुन्थ्यो आमा । गोबर खन्दा बाफ उडिरहेको थियो । मैले भनें, ‘आमा म पनि एउटा सानो गुइँठाको पाठ उठाउँछु ल १ त्यसलाई मजस्तै अग्लो बनाउँछु अनि सुकेपछि म मात्रै बाल्छु त्यो गुइँठालाई ।’
आमा मुसुक्क हाँस्नुभो । अनि भन्नुभो, ‘ल ल अब नसिके कहिले सिक्छौ गुइँठा बनाउन १’
म खुसीले फुरुङ्ग भएँ र गोबरबाट आइरहेको बाफलाई हातले पन्छाउँदै खाल्डोबाट गोबर निकाल्न खोजेँ । जब हातले गोबर बटुल्न खोजेँ, तब करेन्ट लागेजस्तै भयो । 
खाल्डोमा भएको गोबरबाट कसरी बाफ आउँछ ? हरेक दिन आगो बाल्न चाहिने दाउरा हाम्रो घर र पूरै गाउँको ठूलो समस्या थियो । जंगलमा कतै पनि दाउरा देखिँदैनथ्यो । बरु धेरै परको पहाड प्रस्टैसँग देखिन्थ्यो ।
गहुँ काटेर तल फेद छोडेको हुन्थ्यो । त्यही फेद बटुलेर बारीतिर ठूलो टाली बनाइन्थ्यो, खाना पकाउन वा आगो बाल्न । थोरैथोरै गुइँठामा मिसाइन्थ्यो । धान मुरछोप्पा काटेर तल छोडेको भागलाई जरादेखि उखालेर थुप्रो बनाउँथ्यौं । बाँसको घारीमा पसेर टपरी र सुकेको करची (हाँगा) बाँस–मालिकको आँखा छलेर ल्याउँथ्यौं ।
जाडो छेक्न र शरीरलाई न्यानो पार्न हजुरआमा चौकी (खाट) लाई पिण्डा (पिढी) को छेउमा ठाडो पारी राख्नुहुन्थ्यो । तल ओसरामा २ बोझ पराल ओछ्याएर गद्दी बनाएर पिटरी (गुन्द्री) ओछ्याउनुहुन्थ्यो बुबा । त्यसमाथि गुदडी (च्यातिएको पुरानो कपडाले बनाएको ओढ्ने) पनि राख्नुहुन्थ्यो । चिसोलाई अँगालेर सुतेको म केही छिनमै न्यानो हुन्थेँ । चिसो सहन नसकेर होला कैलो कुकुर खुट्टातिर आएर बस्थ्यो ।
एक दिन भुँडे आड्डो (गोरु) ले पुच्छर उठायो गोब्य्राउनलाई । म कुदेर जाँदै थिएँ, गोबर थाप्न । तर, गोरुले मलाई लखेट्न थाल्यो । म छैटी लिएर टाप कसेँ । थाहै पाइनँ कति बेला छैटी गाईगोरुको बथानमै छुटेछ । भाग्दाभाग्दै गहुँको खेतमा पुगें । माटोका डल्लाले गोरुलाई भकाभक हान्न थालेँ । अनि मात्रै केही बेरमा फर्केर बथानतिर लाग्यो । म थकित भएर आलीमा बसें । मन भारी भएर आयो । गोबर बोक्ने मेरो छैटी भाँच्चिसकेको थियो । मसँगै आएका साथीहरू पर–परको बथानतिर पुगिसकेका थिए ।
गाईमाल सबै बाध (चौर) मै थिए । हामी घरतिर लाग्यौं । घरमा आमा हुनुहुन्थेन । मैले आँगन बढारें । भाँडा सफा गरेँ तर आमाले जस्तो टल्काउन सकिनँ । साँझ आमा हटियाबाट फर्कंदा ठूलो माटोको भन्डा (घैला), एउटा झोलामा खुदी (चामलको कनिका) र तरकारी लिएर आउनुभो ।
आमाले सोध्नुभो, ‘आज कति छैटी गोबर जम्मा गर्‍यौ ?’ मलाई डर लाग्यो, गाली खाने भएँ भनेर । अनि हतारहतार गोरुले लखेटेको कुरा सुनाएँ ।
मैले काम गरेको देखाउन भनेँ, ‘आमा मैले माझिसकेँ सबै भाँडाहरू ।’ आमाले हेर्नुभयो र खरानी ल्याउन भन्नुभयो । सबै भाँडा झिकेर खरानीले माझ्नुभयो । पखाल्दा थाल, लोटा, कन्ती, डाडु, पन्यु, गिलास सबै कति मजाले टल्कियो १ अनि पो थाहा पाएँ, भाँडा परालले मात्रै रगडेर हुँदैन । त्यसमा खरानी राखेर माझ्यो भने टल्किन्छ । यसरी नै मैले उमेरसँगै काम सिक्दै गएँ । 
बिहान जहिले पनि हजुरआमाको मिठो स्वर सुन्न पाइन्थ्यो, हजुरआमाले बनाएको न्यानो ओछ्यानमा । हजुरआमा मेरै नाम जोडेर गीत गाउनुहुन्थ्यो । मेरो आँखा चिम्म हुन्थ्यो तर कान जागिसकेको हुन्थ्यो । निदाएजस्तो गरेर म धेरै कुरा सुन्थेँ । ओछ्यानमा भएकी हजुरआमाको गीतलाई साथ दिएझैं लाग्थ्यो, जब आमाले घरआँगन झाडुले बढारेको आवाज आउँथ्यो । आमाले भाँडाकुँडा माझ्दा पनि एक किसिमको सुनिरहूँ लाग्ने मिठो आवाज आउँथ्यो । 
एक दिन आमा घरमा हुनुहुन्थेन । खोज्न थालेँ । आमाले नहरको डिलमा गुइँठा बनाइरहेको देखेँ । उहाँले गुइँठा बनाइरहेको गोबर हाम्रो थिएन । मैले अच्चम मान्दै सोधेँ, ‘किन तपाईंले गोवारास (यादव) को गोबर बनाउनुभएको ?’
‘गोबर लिन,’ यत्ति थियो आमाको जवाफ । एक छिनपछि भन्नुभयो, ‘उनीहरूका लागि ४, ५ दिन गुइँठा बनाइदिएँ भने एक दिनको गोबर हामीलाई दिन्छन् । अनि तिमीलाई थाहा छ, एक दिनमा कति छैटी गोबर हुन्छ ? भरीभरी दुई छैटी । हाम्रो गोइठाको पाठ पनि तिमीजस्तै छिट्टै ठूलो होस् भनेर यिनीहरूको गोबरलाई गुइँठा बनाएको । अनि भदौ महिना दाउराको दुःख नहोस् भनेर... ।’
आमाले बनाउनुभएको गोबरको गुइँठा धेरै
परसम्म फिँजाएको देखेँ । आमाको खाली खुट्टा फाटेको थियो । चिसोले टम्म भरिएको थियो नाक । आमाको धोत्रो स्वर सुनेँ, ‘तिमी किन यहाँ आयौ यस्तो चिसोमा ?’ यस्तो भयानक दुःखमा पनि आमाको स्वर न्यानो लाग्यो मलाई । आमाको छेउमै बसेँ । कुरा सुनिरहेँ । घर जानै मन लागेन । सबै गोबर सकाएर आमासँगै घर फर्किएँ ।
हातखुट्टा धोएर आमाले खाना पकाउन थाल्नुभयो । म चुलोनजिकै बसेर आमालाई एकहोरो हेरिरहेकी रहेछु । आमाले झक्झक्याउँदा मात्रै तर्सिएँ । मैले भनेँ, ‘आमा मलाई हाटबाट नयाँ र ठूलो छैटी ल्याइदिनु है, म वर्षभरिपुग्ने गोबर खोज्छु । र, मभन्दा अग्लो गुइँठाको पाठ बनाउँछु ।’ मैले त्यसो भनिसक्दा आमा रुनुभयो । उहाँ त्यतिखेर किन रुनुभयो, मैले बुझिनँ । अहिले अभावका ती बाल्यकालीन दिन सम्झँदा मेरो सिरानी निथ्रुक्क भिज्ने गर्छ । (लेखक रंगकर्मी हुन्)

Page 8
समसामयिक

बेग्लै महाभारत

‘यो द्वापर होइन, कलियुग हो । पुरानो महाभारत अब काम लाग्दैन । तपाईं बेग्लै महाभारत लेख्नोस् ।’
- शरच्चन्द्र वस्ती

जूवामा सर्वस्व हारेर पाण्डवहरू वनवास गएपछि सुयोधनको चुरिफुरी बढ्दै गयो । उद्दण्ड त ऊ पहिलेदेखि नै थियो, अब उसको उद्दण्डताले आकाश छुन लाग्यो । बोलीमा, व्यवहारमा र राजकीय कार्यव्यापारमा हुनुपर्ने मर्यादालाई उसले पाण्डवसँगै वनवास पठाइदिएको थियो र अहंकारलाई आफ्नो सिंहासन बनाएको थियो ।
हुन त ऊ युवराज मात्र थियो र राजसिंहासनमा धृतराष्ट्र आसीन थिए । तर दृष्टिविहीन राष्ट्रप्रमुख उसैका आँखाले हेर्थे, उसैका कानले सुन्थे र उसैको बोली बोल्थे । उसैको निर्णय अनुसार परिचालित हुन्थे । भव्य नवीन दरबार, सुन्दरी दासीहरू, दुर्लभ मदिरा, रत्नजडित रेशमी परिधान र बहुमूल्य सोह्रघोडे रथ लगायत विलासिताका सामग्रीले उनलाई रद्द पारेर ऊ सर्वशक्तिसम्पन्न कार्यकारी महाराज बन्न पुगेको थियो । उसमाथि कसैको अंकुश थिएन ।
नाम सुयोधन भए पनि ऊ आफूलाई दुर्योधन भन्न रुचाउँथ्यो । गदा उसको प्रिय शस्त्र थियो । आफ्ना विरोधीलाई गदा प्रहारबाट जमीनमा धसाउनु उसको प्रिय व्यसन । मत बझाउने धेरैलाई उसले यसैगरी तह लगाइसकेको थियो । गदा सञ्चालनमा जस्तै वीणा वादनमा पनि ऊ प्रवीण थियो । समय र परिस्थिति अनुरूप नयाँ राग निकालेर दुनियाँलाई लठ्ठ पार्न उस्ताद । उसले छेडेको रागले प्रजाजन सम्मोहित हुन्थे र जयजयकार गर्दै उसको पछि लाग्थे । तिनका दुःखकष्ट र भोकप्यासको रापलाई उसले यस्तै रागद्वारा निस्तेज पार्ने गरेको थियो ।
एक दिन अकस्मात् देशमा महामारी आइलाग्यो । त्यसको न कुनै औषधि थियो, न उपचार । वैद्यहरू आफैं भयभीत थिए । त्यही समयमा अधिकतर जनपदमा अनिकाल शुरू भयो । रोग र भोकले आक्रान्त प्रजाजन राजदरवार वरिपरि जम्मा भएर त्राहित्राहि गर्न थाले । यसैबीच सुदूर सीमान्त प्रदेशमा प्रवेश गरेर शत्रुदेशले कतिपय ग्राम आफ्नो अधीनस्थ गरेको खबर आयो ।
खबर सुन्नासाथ सुयोधन वीणा उठाएर देशभक्ति–राग अलाप्न थाल्यो । खबर लिएर आएको सेनापतिले ‘आहा, कति मीठो राग १’ भनेर प्रशंसा गरेपछि
ऊ पुलकित भएर सेनापतिसँगै दरवारको कौसीमा उक्ल्यो र प्रजाजनलाई नयाँ राग सुनाउन थाल्यो । उनीहरू आफ्नो पीडा बिर्सेर उसको जयजयकार गर्न थाले । विदा हुन लाग्दा सेनापतिले अयाचित परामर्श टक्र्यायो, ‘शत्रुको कान टालिएको छ । उसले महाराजको राग श्रवण गर्न सक्तैन । तीक्ष्ण वाणहरूले मात्र उसको कर्णविवर खोल्न सक्छन् । त्यसका लागि सैनिक अभियान जरूरी छ । प्रभुको जो विचार !’
त्यही अपराहृन सुयोधनले सर्वोच्च राजपरिषदका सदस्यहरूलाई मन्त्रणा कक्षमा आमन्त्रित गर्‍यो । परिषदमा ऊबाहेक चार सदस्य शकुनि, कर्ण, अश्वत्थामा र दुःशासन थिए, जो उसका सम्पूर्ण उचित–अनुचित कृत्यका उत्प्रेरक, सहयोगी र सहभागी रहँदै आएका थिए । सधैं झैं, आजको समस्या अपसारण गर्न पनि उनीहरूले साथ दिने कुरामा ऊ विश्वस्त थियो । तर वर्तमान ग्रहस्थिति उसका लागि किञ्चित् अनुकूल थिएन ।
‘सुदूर सीमान्त प्रदेशमा शत्रुलाई पाठ पढाउन सैनिक अभियान आवश्यक देखिएको छ,’ सुयोधनले मन्त्रणा आरम्भ गर्ने उपक्रम गर्‍यो, ‘त्यसनिम्ति, विभिन्न ठाउँमा छरिएर रहेका सैनिकलाई एकत्र गरी यथाशीघ्र प्रयाण गराउनुपर्ने भयो ।’
‘तपाईं हाम्रो मर्यादामा आघात पार्ने कुचक्र रच्तै हुनुहुन्छ युवराज,’ अश्वत्थामाले आपत्ति जनायो, ‘हामी चार जनाको सेवामा एक सहस्र सैनिक परिचालित छन् । तिनलाई सैनिक अभियानमा पठाएर हाम्रो अपमान गर्ने ?’
‘यो कदापि सह्य हुँदैन युवराज,’ कर्णले सही थाप्यो ।
आफ्ना निकटतम मित्रहरूको आक्षेपले सुयोधन रन्थनियो । उसको आहत अहंकारले फूत्कार गर्‍यो, ‘मलाई युवराज होइन, महाराज भन । वास्तविक महाराज मै हुँ ।’
‘सत्य ढाकछोप गरेर लुक्तैन भान्जा,’ शकुनिले भन्यो, ‘हाम्रो मर्यादा घटाउने खेलमा लाग्नेलाई हामी कसरी महाराज स्वीकार्न सक्छौं ?’
‘मामाश्री ठीक भन्नुहुन्छ,’ दुःशासनले ओट थाप्यो ।
चारै जनाको एउटै स्वर सुनेर सुयोधनलाई खपिनसक्नु भयो । ऊ गर्जियो, ‘होइन, तपाईंहरूले के खोजेको ? दशकौंदेखि राज्यको उच्चतर सुखसुविधा उपभोग गर्दै आउनुभएको छ । सबैको गृहकोष स्वर्णमुद्राले भरिएको छ । दास–दासीको फौज छ, राजसी खाद्यवस्तु र मदिराको छेलोखेलो छ । सारथि सहितका अनेक रथ अहोरात्र प्रांगणमा उपस्थित छन् । आमोद–प्रमोद र विलासिताको सम्पूर्ण व्ययभार राजकीय कोषबाट वहन गरिएको छ । अरू के चाहियो ?’
‘तिम्रो कार्यशैली हाम्रा लागि सन्तुष्टिप्रद भएन भान्जा,’ शकुनिले तिखुल्ले स्वर निकाल्यो, ‘हामी महान् आत्मा हौं । हामी छायामा पर्दा जनता अपमानित हुन्छन् । देश दुःखी हुन्छ । राज्यव्यवस्था कमजोर हुन्छ । हामीले धेरै त्याग गर्‍यौं । देश र जनताका लागि अब तिमीले त्याग गर्नुपर्छ ।’
‘के त्याग गर्ने ?’
‘सिंहासन त्याग गर । यतिन्जेल तिमी बस्यौ । अब म यसको शोभा बढाउँछु ।’
‘दुई जनाले चोचोमोचो मिलाएर हुँदैन,’ घुटुक्क थूक निल्दै अश्वत्थामाले प्रतिवाद गर्‍यो, ‘पहिले सिंहासन खाली होस् । को बस्ने भन्ने कुरा त्यसपछि निर्णय हुन्छ ।’
शकुनि सशंकित भयो र मनमनै ङ्यार्र गर्‍यो, ‘तँलाई त म देखाउँछु नि, पख् न !’
सुयोधनको शरीर क्रोधले काम्न थालेको थियो । ऊ एक एक गरेर चारै जनालाई दपेट्न थाल्यो :
‘को बस्ने मेरो सिंहासनमा ? शकुनि मामा ? हाम्रो राज्य ध्वस्त पार्ने अभिप्रायले हामीकहाँ घुस्रिन आएको प्रतिशोध–अन्ध गान्धार राजकुमार होइन तपाईं ? पासा हान्नु नै सर्वोच्च योग्यता होइन तपाईंको ? आभिचारिक विधिद्वारा मानवीय अस्थिको पासा निर्माण गर्न १८ जना निर्दोषको हत्या गर्ने तपाईं नै होइन ? त्यसबापत दण्डित हुनबाट आजसम्म जोगिनुभएको छ, यही तपाईंको अहोभाग्य होइन ? आफ्नै राज्यबाट बेदखल हुनेले अर्काको सिंहासन ताक्न लाज लाग्दैन ?
‘कि अश्वत्थामा बस्ने मेरो सिंहासनमा ? सधैं लुब्ध, सधैं पदाकांक्षी र सधैं तर मार्दै आएका काइते होइनौ तिमी ? आजसम्म कतिवटा एकलव्यका औंला काट्यौ र जालझेल गरेर राज्यको कति भूमि हडप गर्‍यौ, त्यसको हिसाबकिताप लिएर दण्डाधिकारी उपस्थित भयो भने के गर्छौ ? हामीले दिलाइदिएको अहिच्छत्र राज्य छँदाछँदै वर्तमान परिप्रेक्ष्यमा हाम्रै सिंहासन ताक्ने ?
‘कि सूतपुत्र कर्णले सपना देख्ने मेरो सिंहासनको ? रातिराति सुवर्ण–तस्करीको गुप्तमार्गमा विचरण गर्ने र बिहानबिहान सुनको नाउँमा पित्तल दान गरेर महादानी कहलाउन खोज्ने ढोंगी होइनौ तिमी ?
गरिखाऊ न त भनेर अंगदेशको रजौटा बनाएर पठाइदिएको, जनता रिझाउन नसकेर त्यहाँबाट पनि लखेटियौ होइन ? राजकुलभित्रै नपरेपछि कुन मुखले मेरो सिंहासनमा र्‍याल चुहाउँछौ ?
‘अनि तँ दुःशासन ? तँ झल्लु पनि मलाई आँखा चम्काउने ? एकचोटि राज्यकोषको जिम्मेदारी दिएको, त्यसैमा प्वाल पारेर भाग्ने तैं होइनस् ? सुदूरपूर्व कामरूप क्षेत्रमा पुगेर तेरो घाँटीमा खड्ग राखी कोष फिर्ता ल्याउनेहरू यही दरवारमा छन् भन्ने बिर्सिस् ? तैंले कुन आँट र कुन हैसियतले मेरो सिंहासन ताकिस् ?’
यही वेला दरवार बाहिर ठूलो कोलाहल सुनियो ।
रोग र भोकले पीडित प्रजाजनको चीत्कार रहेछ । ‘राजकीय मन्त्रणामा खलल पार्ने ?’ भन्दै सुरक्षाकर्मीले दण्डप्रहार गरेर तिनलाई एक योजन पर पुर्‍याए ।
घाइते भएर बीच बाटोमै लडेकाहरूले भने त्यहीं छटपटाइरहने सुविधा पाए ।
यता सुयोधन गदा उचालेर गर्जिंदैथियो, ‘मेरो राजदण्ड यही हो । अब यसैले निर्णय गर्छ । अनुचित दबाव कदापि क्षम्य हुन सक्तैन ।’
सुयोधनको दपेटाइले चार भाइ तीव्र आक्रोशित भए । अश्वत्थामाले भन्यो, ‘तिम्रो योजना हामीलाई कारागारमा हाल्ने हो भन्ने स्पष्ट भयो । हामी अहिल्यै धृतराष्ट्रकहाँ जान्छौं र तिम्रो पोल लगाउँछौं । अनि देखौला ।’
‘जाओ, खुशीसाथ जाओ । तिमीहरूलाई के भन्ने भनेर बूढालाई मैले बिहानै सिकाइसक्या छु । त्यही सुनेर फर्कनू,’ सुयोधन हाँस्न थाल्यो ।
यसैबीच शून्यमा ओमकारको ध्वनि गुञ्जियो र मन्त्रणा कक्षमा महर्षि वेदव्यासको प्रवेश भयो । सबैले उठेर अभिवादन गरे । ‘आयुष्मान् भव,’ एकमुस्ट आशीर्वाद दिंदै महर्षिले भने, ‘मैले योगबलद्वारा तिमीहरूको सम्पूर्ण विवाद श्रवण गरें । विग्रहले कसैको हित गर्दैन । तिमीहरू मेलमिलापतिर लाग ।’
‘अपमान सहेर कसले मेलमिलाप गर्छ ?’ शकुनि बटारियो ।
‘सिंहासनमा दागा धर्नेसित केको मेलमिलाप ?’ सुयोधनले गदा सुम्सुम्यायो ।
‘मैले लेखेको महाभारतमा तिमीहरूबीच द्वन्द्व छैन । त्यसको विपरीत नजाऊ,’ महर्षिले पुनः सम्झाउने प्रयास गरे ।
‘यो द्वापर होइन, कलियुग हो । तपाईंको महाभारत अब काम लाग्दैन,’ सुयोधन व्यंग्यमा ओर्लियो, ‘कलियुगको कथा फरक हुन्छ । अब तपाईं बेग्लै महाभारत लेख्नोस् ।’
‘अवश्य लेख्नेछु पुत्र ! अब तिमीहरूलाई नाश गर्न पाण्डव आउनुपर्नेछैन । महाभारतको युद्ध पनि हुनेछैन । आफैंबीचको महाभारत तिमीहरूको विनाशका लागि पर्याप्त हुनेछ,’ अल्प प्रश्वासका साथ वेदव्यासले भने र ओमकारको ध्वनिबीच त्यहाँबाट अलप भए ।

समसामयिक

नेपाली राजनीति कस्तो पानीमा बग्छ ?

मेलम्ची आउने प्रतीक्षामा धेरै वर्ष बिते यो नगरका । विडम्बना, यो नबग्ने राजनीतिको पर्याय भएर बसेको छ । यसको नाटकीय शक्ति छ । ब्रिटिस नाटककार सेमुअल बेकेटको विसंगत नाटक ‘वेइटिङ फर गोडो’ मा नआउने गोडो पात्रजस्तै भएको छ यो पानी ।
- अभि सुवेदी

एकाउन्न सालको आमचुनावको बेला थियो । एउटा सानो घटनाबाट आरम्भ गर्छु । कथा छोटो छ तर यसले समेटेको इतिहास र वर्तमान वाचाल छ । क्षेत्र नम्बर एकबाट चुनाव लड्न लागेका कृष्णप्रसाद भट्टराई उर्फ किसुनजी टुँडिखेल खुलामञ्चको एउटा ठूलो जनसभालाई सम्बोधन गर्दै थिए । मेलम्चीबाट पानी ल्याउँने विषय त्यही बेला राजनीतिमा आइसकेको थियो । किसुनजीले खुलामञ्चबाटै भने, ‘म छानिएर आएपछि मेलम्चीको पानी ल्याउँछु, अनि त्यो पानीले यो राजधानीका सडक पटकपटक धोइदिन्छु ।’ हजारौं मानिसको भीडमा म पनि थिएँ । मलाई त्यो बेलासम्म राजनेताहरूले भनेका कुरामा चाख लाग्थ्यो । तिनका सिद्धान्त हुन्छन् । ती इमानदार हुन्छन् । त्यसैले तिनले भनेका कुरा सुन्नुपर्छ भन्ने विश्वास भित्र कहीँ लाग्थ्यो । मलाई लाग्यो, यिनले केही राम्रो कुरा भने । तिनको मेलम्चीले नभए पनि तिनले त्यस दिन भनेको कुराले मलाई निथ्रुक्क भिजायो । अहिलेसम्म पनि भिजाएको छ किनकि तिनले पानीको विश्वासले बोलेका थिए । उनले यसले जन्माउने समस्या, ऐठन र पथभ्रान्त राजनीतिक कर्महरू देखेका थिएनन् । यो मेलम्चीको पानीको मात्र कुरा होइन । यो इतिहास कस्तो बाटोबाट चल्दै छ भन्ने कुरासँग जोडिएको छ । मलाई विश्वास लाग्थ्यो, किनकि किसुनजीका समकालीन नेताहरूका कुरामा प्रतिज्ञा थिए । ती सिद्धान्त मान्थे । नेतालाई जनताको सेवक मान्थे । युगका सपना बोक्थे तिनीहरू । किसुनजीका समकालीनहरू बीपी कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंहले भनेका र लेखेका कुरामा मलाई समयको त्यही धुकधुकी छ भन्ने लाग्थ्यो । अहिले त्यस्तो केही छैन । आफैंलाई सोध्छु किन यस्तो भयो ? कति छिट्टै मूल्य र इमान बद्लिए ? । सोच्छु, पुँजी र त्यसलाई पाउने कर्मले गर्दा नै नदी र जलधारहरूका नेपाल उपत्यका, बाहिर र यो भेकमा नै परिवर्तन भएका हुन् त ?
किसुनजीले त्यो दिन भनेको पानी अदृश्य थियो । त्यो कहीँ थिएन । चुनाव भए, परिवर्तनहरू भए । किसुनजीले पनि अनेकौं नियति भोगे । मनमोहनजी त्यही साल पहिलो कमिनिस्ट प्रधानमन्त्री भए । ९ महिनासम्म उनको सरकार रह्यो । इतिहास अगाडि बढ्दै गयो । मेलम्चीको पानी कतै आएन । त्यो एक सरकार, दलहरू र ठेकेदारहरूको कमाइ खाने भाँडो अनि देशका निम्ति घाँडो भएर बसिरह्यो । पुँजीवादको एक विकीर्ण अवतार भएर बस्यो । किसुनजीले पानीका धार आँखाअगाडि देखेकै थिए । मनमोहनजीले पनि देखेकै थिए किनभने तिनीहरू आचरण र सही कर्म अनि लोकतान्त्रिक वा समाजवादी सिद्धान्तमा विश्वास गर्थे । इमानदार राजनीतिक सिद्धान्त मानिसका जीवनबाट टाढा हुँदै जानु भनेको लोकतन्त्र वा समाजवाद कर्म नभएर सिद्धान्तका गफ मात्र बन्दै जानु हो ।
नेपाली इतिहासमा ठूलठूला तरंग आएका हुन् । जनताका अपार छालहरू उर्लेका हुन् । अहिलेको लोकतान्त्रिक गणतन्त्र त्यही बहावको परिणाम हो । तर, त्यो बहाव चलाइराख्न, त्यसलाई अघि लैजान जिम्मा लिनेहरू नबग्न अभिशप्त छन् । खै किन हो, अनुभवले देखाउँछ, राजनीति गर्नेहरू बग्न मान्दैनन् । टाढा किन जानु र १ यो लेख लेखेको बेलासम्म नेपाली राजनीति समयको पानीमा बग्न नसक्नुको एउटा चरम उत्कर्षमा पुगेको छ । सबै गतिहरू एकाध नबग्ने मोडहरूको खोजमा साँगुरिँदै गएका छन् । तर, ती पानीका धेरै कुरा गर्छन् । नेपालमा लाग्छ अब राज्य, राजनीति र सपनाहरू सहज गतिमा बग्दैनन् । अलिकता बगेजस्तो देखिन्छन् तर ती फेरि जम्छन् । ती गाँठो पर्छन् । यो विडम्बनामाथि लगभग हामीले ध्यान नदिएकै रहेछौं ।
साहित्यकार भएकाले सम्झिन्छु, कवितामा पानी बग्छ । कवि वासु शशीले धेरै अघि लेखे, ‘पानी हो त्यो बग्छ, वीणा हो त्यो बज्छ ।’ त्यसैगरी कवि केदारमान व्यथितले लेखे, ‘रोकिए जीवन प्रवाह अल्झिँदो जलमैल बन्छ, तर त्यही हर्दम बगिरहे प्रत्येक पदमा तीर्थ बन्छ ।’ कवि लेखनाथले त यसरी लेखिदिए, ‘ठाडै कैलाशदेखि द्रुततर गतिले गठ्गडाएर झर्दी । ...आमा भन्दै झरेका सकल नदी काखमा टप्प धर्दी ।’ पानीको एउटा सुन्दर गतिको चित्र आउँछ । कवि लक्ष्मीप्रसाद देवकोटाले ‘सुन्दरीजल’ को प्रवाह, ध्वनि अनि चित्र राखेर कविता लेखे । थाहा छ, नेपालमा पानी अनेकौं गतिमा बग्छ । नेपालको धन पानी हो । यो स्रोत शाश्वत छ । नेपाल यिनै प्रवाहले धनी हुन्छ । विडम्बना छ । ती प्रवाह अर्को मोडमा पुग्छन् । ती अनन्त दुःखका कारक हुन्छन् । ठूला–साना बाँध भएर भत्किएर, खोलिएर पानीले मधेसका गाउँहरू डुबाउँछ । राजनीति हुन्छ त्यसमा । नेपालको पानीको प्रवाहको अन्तिम दुःख झेल्ने मधेसका जनता हुन् । नेपालमा विद्युत् योजना, बाँध अनि टनेल शक्ति समूहका धन जोड्ने स्रोत बनिन्छन् ।
कोसी बाँध नेपालले भारतसँग सम्झौता गरेअनुसार सन् १९५८ देखि १९६२ मा बनिएको थियो । पन्जाबका भाख्रा र नङ्गल बाँधको सन् १९५४मा उद्घाटन गर्दा स्वतन्त्रतापछिको जोसमा नेहरूले ठूला बाँधहरूलाई मन्दिर भने । यो भूललाई रामचन्द्र गुहाको भनाइअनुसार, नेहरूले सन् १९५८ मा नै थाहा पाइसकेका थिए । तर, कोसी बाँधको पीडा मधेसका विस्थापित जनताले अहिलेसम्म भोगिरहेका छन् । तिनका कथा न नेपाल सरकार सुन्छ, न भारत सुन्छ । पानीका अराजक धारसँग पनि राजनीति र उत्तरऔपनिवेशिक राजनीतिक कल्पना जोडिएको हुन्छ । कोसी र गण्डक बाँध, जलविद्युत् परियोजनाहरू, अनि पछिल्लो भयानक तन, मन र धन खिचिबसेको मेलम्ची जल परियोजनाका कथाले के भन्छन् ? मेलम्ची आउने प्रतीक्षामा धेरै वर्ष बिते यो नगरका, यो देशका । विडम्बना, यो नबग्ने राजनीतिको पर्याय भएर बसेको छ । यसको नाटकीय शक्ति छ । ब्रिटिस नाटककार सेमुअल बेकेटको विसंगत
नाटक ‘वेइटिङ् फर गोडो’ मा नआउने गोडो पात्रजस्तै भएको छ यो पानी । आउँछ, आउँदै छ । भर्खरै अर्को एउटा सूचना निस्केको छ, गोडो आउन लागेको छ । दर्शकदीर्घामा पर्खेकै छौं, हेरौं । थोरै जनसंख्या भएको सिन्धुपाल्चोकको मेलम्ची उपत्यका । जुगल हिमालबाट निस्केको कलकल सुन्दर मेलम्ची नदीलाई २८.८३ किलोमिटर टनेल बनाएर नेपाल उपत्यकामा ल्याउने योजना पर्याय भएको छ राजनीति, आशा र नयाँ युगको ।
म एक विद्यार्थी भएर नेपाल उपत्यकामा आउँदा मलाई सबैभन्दा मन परेको विषय पानी नै थियो । म यस्तो ठाउँबाट आएको थिएँ, जहाँ खोला र नदीहरू निर्बाध बग्थे । तिनको आकार र तिनको संस्कार निश्चित थिएनन् । नेपाल उपत्यकामा देखें नदीहरू मानिससँग कथा, प्रयोजन र मिथकले जोडिएका छन् । यहाँ हिटी, धारा, राजकुलो र अरू रूपहरूमा पानी वास्तुकला र इतिहास भएको रहेछ । तिनलाई सहरको मात्र होइन नदीको आर्किटेक्चरले पनि आकार दिएको छ । थाहा पाएँ, तिनका नामहरू कविताका निम्ति कुँदिएका छन् । वाग्मती, विष्णुमती, मनहरा, भाचाखुसी, भद्रमती, कर्मनाशा, धोवी खोला, टुकुचा, हनुमन्ते, कति हुन् कति १ सबैका आकार सहर, बस्ती, मानिसका कर्मले बनिएका छन् । चाख बढ्दै गयो ।
पानीका एक अध्येता, जसलाई म पानी कवि भन्छु डा. अजय दीक्षितसँग यो कुरा राख्छु । अजय दीक्षित पानीका, धारका अनि तिनका इतिहासका वैभव र वर्तमानका विजोगका ज्ञाता विद्वान् हुन् । ती कोसी, गण्डकीका भङ्गालाहरूदेखि नेपाल उपत्यकाका नदीका प्रवाहका अध्ययन गर्छन्, लेख र किताब लेख्छन् ।
‘देवानन्दले हरेराम हरेकृष्ण फिल्म बनाउँदासम्म वाग्मतीको पानी सफा रहेछ, दाइ’, तिनले डायलगबाट थाहा पाए, लेख लेखे । ती यो पानीका सञ्जालले संस्कृति, वास्तुकला, इतिहास, संगीत र जीवन अनि जिजीविषाका गतिहरू पैल्याउँदै हिँड्छन्, लेख्छन् र ठूलो सुस्केरा हाल्छन् ।
तर, जब राजनीतिसँग पानी जोडिन्छ, त्यो पैसाको खेलको जालोमा पस्छ । मेलम्चीजस्तो जाज्वल्यमान उदाहरणबाहेक अरू अनेकौं विषय छन्, दीक्षितका । तर, नबग्नेहरूले तिनका गतिको जिम्मा लिएपछि नदी बाटो बिराउँछन् र डुबान र पहिरामा निसासिन्छन् ।
मलाई सधैं एउटा प्रश्नले पिरोलिरहन्छ । त्यो हो, नेपाली राजनीति कस्तो पानीमा बग्छ ? राजनीति र पानीको सम्बन्ध धेरै नजिकको हुन्छ । यो जति ठूलो विषय राजनीतिदेखि, अर्थनीति, सौन्दर्यशास्त्र र दर्शनमा अरू केही हुन सक्तैन । नेपालमा मलाई जटिल लागेको विषय यस्तो छ— पानी बग्छ तर अर्को अर्थमा नेपालमा पानी बग्दैन किनभने यसलाई लिएर चल्नेहरू बग्दैनन् । तिनको प्रवाह छैन । तर, तिनका जलराशिका सपना धेरै हुन्छन् । ती खोला र नदी होइन समुद्रकै सपनामा रम्छन् । विडम्बना छ, नेपालको राजनीति र त्यसलाई लिएर काम गर्नेहरू बग्दैनन् । नेपालमा इतिहास बग्छ तर फेरि जम्छ, फेरि अडिन्छ । विडम्बना, नबगे पनि त्यो त्यसैको इतिहास हुन्छ । नेपालमा राजनीति बगेको छ कि छैन, त्यसलाई पानीसँग जोडेर हेर्दा धेरै कुरा खुल्छन् । पानीको सहज गति र यसलाई लिएर चिन्तन गर्ने योजनाकारहरूका अलमलिएका गतिहरू र तिनका योजनाहरूले नदी, तिनको संस्कृति, सभ्यता, राजनीति, कला, वैभव र काव्यको उपेक्षा गरेको कुरालाई उठाउनु मात्र यो निबन्धको उद्देश्य हो ।

Page 9
अर्थ वाणिज्य

फेरि बन्द हुने अवस्थामा सपिङ मल

सञ्चालकले भाडा तिर्न दबाब दिएपछि व्यवसायीले बुझाए सटरको साँचो
- नुमा थाम्सुहाङ
भाडा छुटलगायत माग राखी शुक्रबार प्रदर्शन गर्दै काठमाडौंस्थित सिभिल मलका व्यवसायी । तस्बिर : कविन अधिकारी/कान्तिपुर

असार १ देखि पुनः सञ्चालनमा आएका उपत्यकाका सपिङ मल एक महिना नपुग्दै बन्द हुने अवस्थामा पुगेका छन् । मल सञ्चालकले भाडा तिर्न दबाब दिएपछि पसल बन्द गर्न बाध्य भएको व्यवसायीले बताएका छन् । कोभिड–१९ महामारीबीच सरकारले लागू गरेको लकडाउन तोड्दै व्यवसायीले पसल खोलेका थिए । तर व्यापार हुन नसकेकाले भाडा तिर्न नसक्ने मलस्थित व्यवसायी बताउँछन् ।
सुन्धारास्थित सिभिल मलका १ सय ५ व्यवसायीले शुक्रबार सञ्चालकलाई सटरको साँचो बुझाएका छन् । सिभिल मल सञ्चालक समितिले व्यवसायीलाई असार २५ भित्र पसलको भाडा बुझाउन दबाब दिएपछि उनीहरूले तिर्न नसक्ने भन्दै साँचो जिम्मा लगाएका हुन् । मल सञ्चालनमा आएपछि व्यवसायीलाई व्यवस्थापनबाट भाडा बुझाउन दबाब आएको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिए ।
‘असार १७ गते व्यवसायीहरूलाई चैत ९ देखि चार महिनाको भाडा असार २५ गतेभित्र तिरे ५० प्रतिशत छुट दिने भनेर सञ्चालकको चिठी आयो,’ उनले भने, ‘अहिले असार मसान्तभित्र तिरे २५ प्रतिशत मात्र छुट दिने भनिएको छ ।’ मल सञ्चालन गरे पनि व्यापार गर्न नसकेको अवस्थामा भाडा तिर्न नसक्ने भन्दै साँचो जिम्मा लगाइएको उनले सुनाए ।
‘मलमा प्रतिमहिना १ लाखदेखि ८ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यवसायी छन्,’ घिमिरेले भने, ‘आम्दानी नभएको अवस्थामा बैंकदेखि सबैलाई पैसा तिर्नुपर्छ । हाम्रो सम्पत्ति भनेको पसल हो । त्यही राख्नुस् भनेर साँचो दियौं ।’ व्यवसायीले ‘मल खोल्ने वातावरण तयार गर’, ‘आत्महत्यालाई प्रोत्साहन नगर’, ‘व्यापारीहरूको आर्थिक क्षति कसले व्यहोर्ने’ लगायतका प्ले कार्ड बोकेर मलबाहिर प्रदर्शनसमेत गरेका थिए । व्यवसायी रहे मल रहने भएकाले सञ्चालकहरूलाई छलफलको वातावरण तयार गरी सहमतिको बाटोमा जानुपर्ने माग व्यवसायीको रहेको अध्यक्ष घिमिरेले बताए ।
न्युरोडस्थित ताम्राकार कम्प्लेक्स, पिपल्स प्लाजा र रञ्जना ट्रेड सेन्टरका व्यवसायी र सञ्चालकबीच पनि भाडाकै विषयमा कसरी सहमति गर्ने भनेर छलफल चलिरहेको पिपल्स प्लाजा व्यापार संघका अध्यक्ष युवराज गुरागाईंले जानकारी दिए । ‘बैंकहरूको ब्याज तिर्नुपर्ने भएकाले सञ्चालकले धेरै छुट दिन नसक्ने र व्यवसायीले भाडा तिर्न नसक्ने भन्छन्,’ उनले भने, ‘हामीले चैत ११ देखि जेठभरको भाडा छुट र बाँकी ९ महिनाको ५० प्रतिशत छुट मागेका हौं ।’ प्लाजामा करिब २ सय सटर छन् । भाडा छुट भएन भने व्यवसायीले सटर छाडेर जाने अवस्था रहेको उनले बताए । ताम्राकार व्यापार संघका अध्यक्ष जगत साउदले पनि आफूहरूले व्यवसाय गरिरहेको मलसँग वार्ता गर्ने तयारीमा रहेको जानकारी दिए । व्यवसायी र सटरधनीबीच घर भाडा छुट गर्नेसम्बन्धी समझदारी भएको रञ्जना व्यापार संघका उपाध्यक्ष विनय अग्रवालले बताए । ‘चैत ११ देखि लामो दूरीका सार्वजनिक यातायात नखुलेसम्मलाई लकडाउन मानेर सहमतिमा जाँदै छौं,’ उनले भने, ‘त्यो समयको ५० प्रतिशत घर भाडा छुट मागेका छौं ।’ रञ्जनामा ५ सय जना सटरधनी छन् ।

घर भाडा छुट गर्न महासंघको माग
नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको व्यावसायिक घर भाडा छुट गरिदिनुपर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लकडाउन अवधिभरको बैंक ब्याजदर शतप्रतिशत छुटको व्यवस्था गरिदिनुपर्ने महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघले किस्ता तथा ब्याज तिर्ने समय कम्तीमा एक वर्ष सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योगीको पहुँच सीमित गर्न, बैंक कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत गर्न र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्न महासंघको माग छ ।

अर्थ वाणिज्य

५ सय मेगावाट विद्युत् उत्पादन बन्द

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नदीमा आएको बाढीले करिब ५ सय मेगावाट विद्युत् उत्पादन क्षमताका विभिन्न आयोजना बन्द भएका छन् । बाढीका कारण देशभर विद्युत् उत्पादन, प्रसारण र वितरण प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको विद्युत् गृहबाट २ सय ४० मेगावाट र निजी क्षेत्रका विद्युत् गृहबाट २ सय ५० मेगावाट विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
बाढीका कारण आन्तरिक उत्पादन घटे पनि भारतबाट विद्युत् आयात गरी विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको उनले बताए । बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत् गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढेकाले विद्युत् गृह कति बेला सञ्चालन गर्न सकिन्छ, यसै भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।
प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायत विद्युत् गृहको करिब २ सय ५० मेगावाट विद्युत् उत्पादन पनि बन्द भएको छ । वर्षाका कारण इलामको सिद्धिथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

अर्थ वाणिज्य

‘वित्तीय सुविधा नपाए गाडी चलाउँदैनौं’

- विमल खतिवडा

यातायात व्यवसायीले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । सरकारले बिहीबार आवश्यक स्वास्थ्य सावधानी अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । तर अहिलेकै अवस्थामा सवारी चलाउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।
सरकारको निर्णयपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार आकस्मिक बैठक डाकेको थियो । बैठकमा सरकारले यातायात सञ्चालनको वातावरण बनाइदिनुपर्ने विषय मुख्य रूपमा उठेको व्यवसायीले बताएका छन् । ‘बैठकले यातायात व्यवसायीले पहिलादेखि राख्दै आएका माग सरकारले सम्बोधन नगरेसम्म गाडी नचलाउने निर्णय गर्‍यो,’ महासंघका महासचिव सरोज सिटौलाले भने । कोरोनाको प्रभाव कति समय हुन्छ, थाहा छैन । बैंकको कर्जा तिर्ने समय सारिदिनुपर्ने, लामो समयदेखि ग्यारेजमा थन्किएका गाडी निकाल्न पुनर्कर्जा दिनुपर्नेलगायत माग व्यवसायीका छन् । ‘दुई/चार व्यवसायीले आफैं गाडी मर्मत गरेर चलाउन सक्लान्,’ उनले भने, ‘तर प्रायः व्यवसायीले ग्यारेजबाट गाडी निकाल्न सक्ने अवस्था छैन । ब्याट्री ड्यामेज भएका छन् । टायर पङ्चर छन् । मोबिल फेर्नुपर्नेछ ।’ तसर्थ भन्नेबित्तिकै गाडी निकाल्न सक्ने अवस्था नरहेको उनले बताए । यसका लागि पुनर्कर्जाको माग गरिएको उनले जानकारी दिए । लकडाउनको समयमा लाइसेन्सको समय सकिएको अवस्थामा राजस्व नलिई नवीकरण गरिदिने, चालक र सहचालकको कोरोना बिमा गरिदिनुपर्ने, बैंक ब्याजमा अधिकतम सहुलियत प्रदान गरिदिनुपर्नेलगायत माग पनि व्यवसायीले राखेका छन् । ‘लकडाउनले यात्रुवाहक सवारी ठूलो संकटमा परे,’ सिटौलाले भने, ‘त्यसैले बैंक ब्याजमा पनि सरकारले हेरिदिनुपर्‍यो भन्ने हाम्रो माग हो ।’
सरकारले आफूहरूसँग छलफल नगरी एक्कासि निर्णय गर्दा आश्चर्यमा परेको उनी बताउँछन् । आफूहरूको माग पूरा भएको खण्डमा मात्र सवारी चलाउन सकिने उनको भनाइ छ । ‘साविकको भाडामा ५० प्रतिशतसम्म भाडा बढाउने भनिएको छ,’ सिटौलाले भने, ‘हामीले भाडा बढाउन भनेकै छैनौं । कसरी दैनिक खर्च उठाउन सकिन्छ, त्यसबारे वैज्ञानिक ढंगबाट छलफल गरौं, जनतालाई पनि दुःख नदिऔं, व्यवसायीलाई पनि मार नपारौं भन्ने हाम्रो आशय हो ।’
देशभर करिब ४ लाख सवारी सञ्चालनमा छन् । लकडाउन अवधिको समय गणना नगरी बैंक ऋणको किस्ता तिर्ने सुविधा उपलब्ध हुनुपर्ने महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले बताए । ‘ब्याजमा पुनर्विचार गर्नुपर्छ,’ उनले भने, ‘ग्यारेजबाट गाडी निकाल्न ५० हजारदेखि ५ लाखसम्म खर्च हुन्छ, यसका लागि सरकारले सहुलियत ब्याजमा पुनर्कर्जाको व्यवस्था गरिदिनुपर्छ ।’ आफूहरूका माग पूरा नभएसम्म चाहेर पनि सवारी चलाउन सक्ने अवस्था नरहेको उनले बताए ।

अर्थ वाणिज्य

सेयर ब्रोकरको पुँजी १० करोड बनाउन निर्देशन

- यज्ञ बञ्जाडे

सेयर ब्रोकर (दलाल) को चुक्ता पुँजी न्यूनतम १० करोड बनाउन संघीय संसद्अन्तर्गत अर्थ समितिले निर्देशन दिएको छ । पुँजी बजार र मुद्रा बजारबारे अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिको अध्ययन प्रतिवेदनको सुझावका आधारमा शुक्रबार अर्थ समितिले उक्त निर्देशन दिएको हो । निर्देशनअनुसार ब्रोकर कम्पनीले ०७९ असारभित्र चुक्ता पुँजी न्यूनतम १० करोड बनाउनुपर्नेछ । हाल सेयर ब्रोकरको चुक्ता पुँजी न्यूनतम २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
निर्देशनमा ब्रोकरले सेयर किनबेचसँगै कानुनले दिएको अरू काम (कार्यक्षेत्र) थप गरेसँगै चुक्ता पुँजी पनि १० करोडभन्दा धेरै बनाउनुपर्ने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले जस्तै सेयर ब्रोकरले पनि सर्वसाधारणलाई सेयर जारी गरी पब्लिक कम्पनीमा जानुपर्ने, वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्वमा आम्दानीको कम्तीमा एक प्रतिशत छुट्याउनुपर्ने, मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गर्नुपर्नेलगायत निर्देशन पनि समितिले दिएको छ । ‘अब ब्रोकरहरू पनि पब्लिक कम्पनीमा जानुपर्छ,’ अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने, ‘हाल ब्रोकरहरू पारिवारिक व्यवसाय जसरी सञ्चालन भएकाले समस्या भयो ।’ समग्र पुँजी बजारको विकास तथा विस्तारका लागि विविध निर्देशन दिइएको उनले बताए ।
वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्न सकिने पनि अर्थ समितिले निर्देशन दिएको छ । यसअघि लाइसेन्स वितरण सुरु भए पनि अर्थ समितिको निर्देशनले रोकिएको थियो । उपसमितिको सुझावमा सुलभ शुल्कमा गुणस्तरीय सेवा र भित्री कारोबार नहुने सुनिश्चिततालगायत विभिन्न ११ वटा सर्त पालना भएको अवस्थामा बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिन सकिने उल्लेख छ । अर्थ समितिको निर्देशनपछि तोकिएका सर्त पूरा गरेपछि बैंकलाई ब्रोकर लाइसेन्स वितरण गर्न बाटो खुलेको छ ।
‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसाय सेवा गर्न अनुमति दिँदा एकातर्फ यी कम्पनीमार्फत सबै प्रदेश र स्थानीय तहमा पुँजी बजारको पहुँच पुगी लगानी प्रवर्द्धन हुने, पुँजी बजारसम्बन्धी साक्षरताको विकास हुने, माग सिर्जना भई सकारात्मक प्रभाव पर्ने,’ उपसमितिको प्रतिवेदनमा उल्लेख छ, ‘अर्कोतर्फ यसले भित्री सूचनाका आधारमा हुने कारोबार अर्थात् भित्री कारोबारलाई बढाउँछ भन्ने पनि छ ।’ यसकारण यी विषयमा उठेका प्रश्न सम्बोधन भएपछि मात्र बैंकलाई ब्रोकर लाइसेन्स दिन सकिने अर्थ समितिले बताएको छ ।
‘लगानीकर्ताको लगानी सुरक्षित हुने र पुँजी बजारको अवस्थामा वृद्धि र विस्तार हुने वातावरण सिर्जना भएपछि तालुक मन्त्रालय र सम्बन्धित नियामक निकायले आवश्यक तयारी गरी वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने निर्णय गर्न उचित देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सकिने भए पनि मनपरी रूपमा लाइसेन्स बाँड्न नहुने अध्ययन उपसमितिकी संयोजक झाँक्रीको भनाइ छ । ‘बजारको आवश्यकता हेरेर, आवश्यक प्रक्रिया पूरा गरी लाइसेन्स दिने भन्ने निर्देशन हो,’ उनले भनिन्, ‘बैंक भएकै कारणले सीधै लाइसेन्स वितरण गर्न हुँदैन, विगतमा ब्रोकरहरूले परीक्षा पास गरेका छन्, नयाँलाई त्यसै भित्र्याउने भन्ने हुँदैन ।’
हाल काम गरिरहेका ब्रोकरको क्षमता अभिवृद्धि, चुक्ता पुँजी वृद्धि, नेप्से, धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धिका साथै संरचनात्मक सुधार गर्नुपर्ने निर्देशन पनि अर्थ समितिले दिएको छ । धितोपत्र बोर्ड, नेप्से, सीडीएससीलगायत निकायका कर्मचारी र सञ्चालकले प्राथमिक सेयर (आईपीओ) मा समेत लगानी गर्न नपाउने व्यवस्था पनि निर्देशनमा छ । ती संस्थाका कर्मचारीले यसअघि लगानी गरेको भए त्यो सबै देखाउनुपर्नेछ । निर्देशनमा बजारको विकास तथा विस्तारका लागि गर्नुपर्ने सबै किसिमका सुझाव समेटिएको छ ।
नीतिगत अप्ठ्यारोका कारण विगतमा नियामक निकायले प्रक्रिया सुरु गर्न पाएका थिएनन् । त्यति बेला बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंक तथा वित्तीय संस्थाले धितोपत्र कारोबारीको लाइसेन्स नपाउने उल्लेख थियो । बैंक तथा वित्तीय संस्थामा अध्यक्ष र सञ्चालक रहेका तत्कालीन सांसदको दबाबमा बाफियामा बैंकको सहायक कम्पनीले ब्रोकर लाइसेन्स लिन पाउने व्यवस्था राखियो । त्यसपछि बैंकले सहायक कम्पनीमार्फत धितोपत्र व्यवयासीका रूपमा कारोबारी लाइसेन्सको कानुनी बाटो खुल्यो । सोही व्यवस्थामा टेकेर नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले पनि नीतिगत अप्ठ्यारा फुकाएका थिए ।

Page 10
अर्थ वाणिज्य

तीन महिनामै उप्कियो कालोपत्र

- अर्जुन राजवंशी
झापाको चन्द्रगढी–देउनिया सडकखण्डमा उप्किएको कालोपत्र । तस्बिर : अर्जुन/कान्तिपुर

भद्रपुर नगरपालिका–९ र १० नम्बर जोड्ने सडकको कालोपत्र निर्माण गरेको तीन महिना नहुँदै भत्किएको छ । चारआली–चन्द्रगढी सडकखण्डदेखि पश्चिम देउनिया पुल छेउसम्मको सडकअन्तर्गत करिब एक किलोमिटर कालोपत्र भत्किएको हो । इलामको गजुरमुखी निर्माण कम्पनीले कालोपत्र गरेको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले ठेक्का लगाएको उक्त सडक ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले निर्माण सम्पन्न भएको तीन महिनामै कालोपत्र भत्किएको स्थानीय रमेश न्यौपानेको आरोप छ । चन्द्रगढी सामुदायिक वनको कार्यालयदेखि पश्चिम चन्द्रगढी हुँदै देउनिया पुलसम्म उक्त सडकको लम्बाइ ४ किलोमिटर छ । गत चैतमा सडक कालोपत्र सकेको निर्माण कम्पनीका तर्फबाट साइड इन्चार्ज प्रकाश कडरियाले जानकारी दिए ।
‘सडक जेठ अन्तिमदेखि भत्किन सुरु भएको हो,’ स्थानीय सन्तोष भण्डारीले भने, ‘एक/दुई ठाउँ मात्र होइन, एक किलोमिटर जति कालोपत्र कामै नलाग्ने गरी भत्किएको छ ।’ सरोकारवाला निकायले अनुगमन र परीक्षण नगर्दा ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको उनको आरोप छ । ‘गुणस्तरीय भएको भए निर्माण गरेको दुई महिनामै कसरी भत्किन्छ ? त्यो पनि एक/दुई ठाउँमा होइन, एक किलोमिटर लामो सडक कामै नलाग्ने गरी भत्किएको छ,’ उनले भने । सडकको गुणस्तरबारे पटकपटक कुरा उठाए पनि कसैले वास्ता नगरेको भीम खतिवडाले बताए । ‘ठेकेदारका मान्छे र काम गर्नेहरूलाई सडक राम्रो बनेन भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौं । तर उहाँहरूले हाम्रो कुरालाई वास्तै गर्नुभएन,’ उनले भने, ‘उल्टै, सघन सहरीबाट जस्तो बनाउन भनिएको छ हामीले त्यस्तै सडक बनाएको भनेर ठेकेदारका मान्छेले हामीलाई जवाफ फर्काए ।’
गजुरमुखी निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत भद्रपुर नगरपालिकाभित्र ३१ किलोमिटर सडक र २ किलोमिटर पक्की नाला निर्माणको ठेक्का पाएको छ । उक्त ठेक्का ६५ करोड रुपैयाँमा लिएको निर्माण कम्पनीका कडरियाले जानकारी दिए । पहिलो पटक ७ महिना थप गरिएको म्याद गुजारेको निर्माण कम्पनीले दोस्रो पटक म्याद थपको प्रक्रिया अघि बढाएको सघन सहरीका इन्जिनियर विनोद मिश्र बताउँछन् ।
सडक निर्माणलगत्तै पानी परेको र १० चक्के टिपर कुदेकाले कालोपत्र चाँडै भत्किएको कडरियाको दाबी छ । नयाँ ट्र्याकमा ग्राभेल र कालोपत्र सँगै गर्नुपरेकाले सडक भत्किएको उनको भनाइ छ । भत्किएको सडक तत्काल निर्माण गरिने उनले जानकारी दिए । ‘भत्किएको स्थानको कालोपत्र हटाएर गिट्टी झारिसकेका छौं । बर्खापछि फेरि कालोपत्र गर्छौं,’ उनले भने ।

अर्थ वाणिज्य

ईयूको पौने तीन अर्ब अनुदान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल सरकारको बहुक्षेत्र पोषण योजनाको दोस्रो चरण कार्यान्वयन गर्न युरोपियन युनियन (ईयू) ले २ करोड ३३ लाख ५० हजार अमेरिकी डलर (२ अर्ब ८० करोड २० लाख रुपैयाँ) अनुदान दिने भएको छ ।
योजनाको दोस्रो चरण २०१८–२०२२ का लागि ईयूले उक्त रकम अनुदानस्वरूप उपलब्ध गराउने भएको हो । अनुदानका लागि अर्थसचिव शिशिरकुमार ढुंगाना र युरोपियन कमिसनका एसिया हेर्ने कायममुकायम निर्देशक जिन लुइस भिल्लेले
शुक्रबार सम्झौतामा हस्ताक्षर गरे । अनुदानमध्ये २ करोड अमेरिकी डलर रकम बजेटरी सहायताअन्तर्गत हुनेछ ।

अर्थ वाणिज्य

नेसनल पेमेन्ट गेटवे दुई महिनाभित्र

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय सूचना प्रविधि केन्द्रले आगामी दुई महिनाभित्र नेसनल पेमेन्ट गेटवे सञ्चालन गर्ने तयारी थालेको छ । महालेखा नियन्त्रकको कार्यालयको लेखा प्रणालीलाई पेमेन्ट गेटमा एकीकृत गर्ने र आगामी भदौदेखि पेमेन्ट गेटवे सञ्चालन गर्ने तयारी भइरहेको केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए ।
प्रविधि पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको सेमिनारमा पौडेलले पेमेन्ट गेटवे सञ्चालनमा आएपछि अनलाइनमार्फत हुने सरकारी भुक्तानी प्रणाली सहज हुने बताए । ‘अहिले हरेक भुक्तानी सेवा प्रदायकले हरेक बैंकसँग छुट्टाछुट्टै सहकार्य गरी डिजिटल भुक्तानी सेवा दिइरहेका छन्,’ उनले भने, ‘नेसनल पेमेन्ट गेटवे सञ्चालनमा आएपछि सबै सेवा एकीकृत हुन्छ ।’ दुई महिनाभित्र सीमित सरकारी कार्यालयमा नेसनल पेमेन्ट गेटवे सुरु हुने र बिस्तारै सबै सरकारी कार्यालयलाई यसमा एकीकृत गरिने उनको भनाइ छ ।
नेसनल पेमेन्ट गेटवेले सबै सरकारी कार्यालयको डिजिटल भुक्तानी एकीकृत गर्ने उनले जानकारी दिए । भुक्तानी सेवा प्रदायक र बैंकको सर्भरबीच छुट्टाछुट्टै नेटवर्क हुँदा भुक्तानी प्रणाली जटिल भएकाले नेसनल पेमेन्ट गेटवेले यसलाई सहजीकरण गर्ने उनले बताए । सरकारी पेमेन्ट गेटवेमार्फत सबै सरकारी कार्यालय सबै बैंकसँग डिजिटल स्वरूपमा जोडिने हुँदा सरकारी भुक्तानी एकीकृत र सहज हुने पौडेलको भनाइ छ । डिजिटल भुक्तानी सेवा प्रदायक पनि पेमेन्ट गेटवेको पूर्वाधार प्रयोग गरी सबैं बैंकसँग जोडिन सक्नेछन् ।

अर्थ वाणिज्य

डिसहोमको २ लाख जित्ने अफर

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– डिसहोमले सातामा २ लाख रुपैयाँ जित्ने योजना ल्याएको छ । गतवर्ष फागुनमा सुरु भएको ‘डिलर दाइको डिस्काउन्ट अफर’ फेरि सञ्चालन भएको हो । उक्त डिस्काउन्ट अफर ४४ साताका लागि सञ्चालन हुने भनिए पनि ग्राहकको मागका कारण फेरि ल्याइएको कम्पनीले जनाएको छ । डिसहोमको विक्रेता वा डिलरमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा उक्त रकम जित्न सकिनेछ ।

 

 

अर्थ वाणिज्य

एनसेलको वायर फ्री प्लस वाइफाईको प्रि–बुकिङ

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनसेलले नयाँ थिम ‘प्लस’ अन्तर्गत वायर फ्री प्लस वाइफाई सेवाका लागि बुकिङ सुरु गरेको बताएको छ । सेवा लिन इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क र प्रभु रेमिटको काउन्टरबाट बुकिङ गर्न सक्छन् । यो अफरमा सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्टलगायत सेवाको बन्डल अफर रहेको कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

एनआईबीएल क्यापिटल शनिबार पनि खुल्ने

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनआईबीएल क्यापिटलको शाखा शनिबारसमेत खुला रहने भएको छ । उक्त दिन लाजिम्पाटस्थित मुख्य कार्यालय बिहान १० देखि दिउँसो १ बजेसम्म खुला रहने क्यापिटलले जनाएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन भइरहेको अजोड इन्स्योरेन्सको साधारण सेयर लगानीका लागि हितग्राही खातासम्बन्धी सेवा खुला रहने कम्पनीले बताएको छ ।

Page 11
विदेश

भारतीय सीमामा खटिएका अर्का नेपालीले ज्यान गुमाए

पाकिस्तानीतर्फबाट भएको गोलाबारीमा परी जम्मु–कश्मीरको रजौरी जिल्ला नोसेरा क्षेत्रमा खटिएका सम्बर गुरूङको मृत्यु
- सुरेशराज न्यौपाने
सम्बर गुरुङ

भारतको सीमा रक्षा गर्ने क्रममा एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रनजिक भएको गोलाबारीमा हवल्दार सम्बर गुरुङको मृत्यु भएको हो । युद्धविराम उल्लंघन गर्दै शुक्रबार बिहान करिब १ बजे पाकिस्तानीतर्फबाट भएको गोलाबारीमा परी जम्मु–कश्मीरको रजौरी जिल्ला नोसेरा क्षेत्रमा खटिएका उनको मृत्यु भएको भारतीय सेनाले जनाएको हो । भारतीय सेनाका जम्मुका कमान्ड प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले उपचारका क्रममा गुरुङको मृत्यु भएको पुष्टि गरे । ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।
एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि असार ८ मा जम्मु–कश्मीरको नोसेरा क्षेत्रमै खटिएका गुल्मी घर भएका हवल्दार ३७ वर्षीय दीपक कार्कीको मृत्यु भएको भएको थियो । गत वर्ष मंसिरमा पनि जम्मु–कश्मीरमै खटिएका गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरले पनि दोहोरो गोलाबारीमा ज्यान गुमाएका थिए । त्यसैगरी, २०७४ जेठमा पनि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत तीन नेपालीको जम्मु–कश्मीरमै भएको आतंकवादी हमलामा मृत्यु भएको थियो । उक्त घटनामा कास्कीका गिरीश गुरुङ, गुल्मीका डम्बरबहादुर पुन र पर्वतका रविन शर्माको ज्यान गएको थियो । त्यसको तीन महिनाभित्रै भदौमा पनि एलओसी क्षेत्र नजिक भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत नेपाली मूलका ३६ वर्षीय सन्दीप थापाको मृत्यु भएको थियो ।
त्यसको एक महिनाभित्रै भारतीय सेनाकै गोर्खा राइफलमा कार्यरत २७ वर्षीय राजेश खत्रीले ज्यान गुमाए । जम्मु–कश्मीरमै खटिएका बेला सीमामा भएको दोहोरो गोलाबारीमा उनी मारिएका थिए । त्यसैगरी, जुन २०१९ मा भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा लमजुङ पुर्ख्यौली घर भएका फ्लाइट लेफ्टिनेन्ट २८ वर्षीय राजेश थापाको पनि मृत्यु भएको थियो । गण्डकी, धौलागिरि र लुम्बिनी क्षेत्रका युवाहरू दशकौंदेखि भारतीय सेनामा भर्ती हुँदै आएका छन् । भारतीय सेनामा हाल करिब ४० हजार गोर्खा सैनिक रहेका छन् । त्यसमध्ये करिब ७० प्रतिशत नेपाली र बाँकी नेपाली मूलका भारतीय नागरिक रहेको अनुमान छ । त्यसबाहेक भारतको अर्धसैनिक र प्रहरीमा पनि नेपालीहरू भर्ना हुने गरेका छन् । भारतले नेपाली गोर्खा सैनिकलाई विशेषगरी पाकिस्तान र चीनसँगको संवेदनशील सीमावर्ती क्षेत्रमा खटाउँदै आएको छ । त्यस क्रममा अहिलेसम्म सयौं गोर्खा सैनिकले ज्यान गुमाइसकेका छन् ।

विदेश

अवकाशको तयारीमा थिए

- हरिराम उप्रेती

एकाबिहानैको टेलिफोन संवादले बालामाया गुरुङ डाको छोडेर रोएपछि परिवारका सदस्य पनि आत्तिए । उनले रुँदै छोरी इलालाई बुबाको मृत्यु भएको खबर सुनाइन् । ‘बिहानै इन्डियाबाट तपाईंको परिवार सहिद हुनुभयो भन्दै फोन आएको रहेछ,’ दिदी नाता पर्ने जस्मिनी गुरुङले भनिन् । बालमाया मूर्छा परिन् । परिवारमा रुवाबासी चल्यो ।
भारतीय सेनामा कार्यरत सम्बर गुरुङको मृत्युको खबर सुनेका परिवारका सदस्य, आफन्त र छिमेकी विक्षिप्त छन् । गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित माझगाउँका ३६ वर्षीय सम्बर गत माघमा घर आएका थिए । बिदा मिले दसैंतिहारमा आउने भनेर फर्किएका थिए । उनी परिवारका सदस्यसँग दिनहुँ टेलिफोन सम्पर्क गर्थे । बिहीबार बिहान पनि उनले परिवारका सदस्यसँग टेलिफोनमा सन्चो–बिसन्चोबारे संवाद गरेका थिए । त्यही कुराकानी उनको अन्तिम बन्यो ।
सम्बरकी श्रीमती र दुई छोरी काठमाडौंस्थित बानियाँटारमा बस्दै आएका छन् । शुक्रबार भारतीय राजदूतावासबाट सवारी पास बनाएर परिवारका सदस्य अन्तिम संस्कारका लागि सीमा क्षेत्रतर्फ लागेको सम्बरका दाजु जितबहादुर गुरुङले बताए । उनका अनुसार सम्बर जवानबाट हवल्दार भइसकेकाले अब केही वर्षमा अवकाश लिने कुरा गाउँ आएका बेला आफन्त र छिमेकीलाई सुनाउँथे ।
सम्बरले १८ वर्ष भारतीय सेनामा बिताइसकेका थिए । ‘जागिरको अवधि पनि धेरै वर्ष थिएन, यस्तो अकल्पनीय खबर सुन्नुपर्‍यो,’ जितबहादुरले भने ।

विदेश

प्रहरीसँगको ‘मुठभेड’ मा मारिए गुन्डा नाइके

- कान्तिपुर संवाददाता
भारतको मध्यप्रदेश राज्यमा विकास दुबेलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर : एजेन्सी

लखनउ (एजेन्सी)– भारतको उत्तर प्रदेशमा ८ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुन्डा नाइके विकास दुबे प्रहरीसँगको ‘मुठभेड’ मा मारिएका छन् ।
उत्तर प्रदेशको कानपुरमा गत साता प्रहरीसँगको झडपपछि उनी फरार भएका थिए । उत्तर प्रदेश प्रहरीका अनुसार उनलाई मध्य प्रदेशको उज्जैनमा पक्राउ गरिएको हो ।
पक्राउलगत्तै प्रदेशको स्पेसल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडक मार्गमार्फत कानपुरतर्फ लग्दै गर्दा एउटा गाडी पल्टिएको थियो ।
त्यसपछि दुबेले प्रहरीको पेस्तोल खोसेर भाग्ने प्रयास गरेपछि गोली चलाएको प्रहरीको दाबी छ । प्रहरी अधिकारी मोहित अग्रवालका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । अग्रवालका अनुसार प्रहरीले दुबेलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो ।
तर उनले प्रहरीमाथि गोली चलाएपछि आफूहरू जवाफी कारबाही गर्न बाध्य भएको अग्रवालले बताए । तर दुबेलाई कति गोली लाग्यो भन्ने जनाइएको छैन । घटनामा चार प्रहरी घाइते भएका छन् । उनीहरूको कानुपरस्थित सीएससी अस्पतालमा उपचार जारी रहेको बताइएको छ । प्रहरीले घटनाबारे थप जानकारी दिने जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक साताअघि दुबेले नेतृत्व गरेको आपराधिक समूहलाई पक्राउ गर्न जाँदा उनीहरूको आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको मृत्यु भएको थियो । घटनापछि फरार दुबेलाई मध्य प्रदेशको एक मन्दिरमा पक्राउ गरिएको हो ।
बिहीबार सबेरै दुबेलाई उज्जैन सहरमा देखेपछि एक स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । प्रहरीले उनका एक प्रमुख सहयोगी अमर दुबेको बुधबार
गोली हानाहानमा मृत्यु भएको बताएको थियो ।
प्रहरीका अनुसार दुबेका अन्य दुई सहयोगी पनि बिहीबारका कारबाहीमा मारिएका थिए । विकास दुबेमाथि हत्या, अपहरण र फिरौती उठाउने घटनामा संलग्न भएका ६० वटा भन्दा बढी अभियोग लगाइएका थिए ।
प्रहरीका अनुसार दुबे झन्डै तीन दशकदेखि आपराधिक गतिविधिमा संलग्न थिए । यसअघि पनि पक्राउ परेका दुबेले कुनै पनि अभियोगमा भने सजाय पाएका थिएनन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको मृत्युबारे प्रश्न उठाएका छन् । उनीहरूले प्रहरी मुठभेडमा दुबेको मृत्यु भएको नभई उनलाई मारिएको आशंका व्यक्त गरेका छन् । ‘प्रहरीसँग आत्मसमर्पण गरेका व्यक्ति किन र कसरी भाग्ने प्रयास गर्छन् ?’ सामाजिक सञ्जालमा कतिपयले प्रश्न गरेका छन् ।

विदेश

खस्कँदो अर्थतन्त्र उकास्दै बेलायत

हस्पिटालिटी व्यवसायमा मूल्य अभिवृद्धि कर १५ प्रतिशत घटाइयो
रेस्टुरेन्टमा खाने ग्राहकलाई अगस्ट महिनाभर ५० प्रतिशत छुट दिइने
- नवीन पोखरेल
बेलायतको लन्डनस्थित ह्यारोड्स डिपार्टमेन्ट स्टोरअघि स्थानीय । तस्बिर : एपी

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यतिखेर विश्वकै अर्थतन्त्र निकै प्रभावित छ । भाइरसका कारण युरोपमै सबैभन्दा बढी प्रभावित बेलायतको अर्थतन्त्र झन् सुस्त बनेको छ । विश्वका अति विकसित देश (जी–७) मध्ये बेलायतमा उच्च आर्थिक मन्दी हुने प्रक्षेपण विभिन्न अध्ययनले गरेका छन् । अध्ययनमा बेलायतको अर्थतन्त्र यस वर्ष करिब १२ प्रतिशतले खुम्चिने आकलन गरिएको छ ।
कोभिड–१९ को महामारीले निम्त्याएको आर्थिक मन्दीको अन्त्य हुने संकेत भने हालसम्म देखिएको छैन । तर यो महामारीबीच पनि अर्थतन्त्र उकास्न तथा व्यवसाय र कामदारको हितका लागि बेलायतले कुनै कसर भने बाँकी राखेको छैन । बेलायत सरकारले अभूतपूर्व ऋण नै लिएर राहतको कदम चालिरहेको छ । सरकारले यस आर्थिक वर्षमा ३ सय ५० अर्ब पाउन्ड ऋण लिने अनुमान विज्ञहरूले गरेका छन् । महामारीका कारण बेलायतले दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी ऋण लिने आकलन उनीहरूको छ । बेलायतका अर्थमन्त्री ऋषि सुनाकले अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्डबराबरको राहत प्याकेज घोषणा गरे । अर्थमन्त्री सुनाकले संसद्मा उक्त स्किम घोषणा गरेका हुन् ।
कोभिड–१९ को महामारीले थलिएको बेलायती अर्थतन्त्र गतिशील बनाउन भन्दै उनले सरकारी प्याकेज सार्वजनिक गरेका हुन् । गत मार्चयता सरकारले ३ सय ५० अर्ब पाउन्डबराबरका विभिन्न राहत प्याकेज ल्याइसकेको छ ।
अर्थमन्त्री सुनाकले कोभिड–१९ ले प्रभावित हस्पिटालिटी (उड्डयन, होटल तथा रेस्टुरेन्ट) र पर्यटन व्यवसायमा मूल्य अभिवृद्धिकर २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको घोषणा गरेका छन् । रेस्टुरेन्ट व्यापारलाई ध्यान दिँदै ग्राहकलाई अगस्ट महिनाभर सोमबारदेखि बुधबारसम्म ५० प्रतिशत छुट दिइएको छ । त्यसैगरी, घरजग्गा व्यापारको क्षति कम गर्न ५ लाख पाउन्डसम्मका घरलाई मालपोत शुल्क (स्ट्याम्प ड्युटी) मिनाहा गरिएको छ ।
यसका साथै युवा रोजगारी बढाउन २.१ बिलियन पाउन्डको ‘किकस्टार्ट’ स्किम ल्याउने घोषणा पनि भएको छ । उक्त स्किम अहिले बेरोजगार भत्ता लिइरहेका १६ देखि २४ वर्ष उमेरभित्रका युवालाई काममा फर्काउनमा लक्षित छ । बेरोजगारी भत्ता लिइरहेका युवाका लागि सरकारले नै तलब व्यहोर्ने गरी ६ महिनाको ‘वर्क प्लेसमेन्ट’ रोजगारी सिर्जना गर्ने पनि घोषणामा छ । लकडाउनका कारण व्यवसाय बन्द भई कामदारलाई ८० प्रतिशत तलबको रूपमा सरकारले दिएको फर्लोस्किम भने आउँदो अक्टोबरदेखि बन्द गर्ने घोषणा गरिएको छ । फर्लोस्किममार्फत बेलायत सरकारले २५ अर्ब पाउन्डभन्दा बढी ज्याला तिरिसकेको छ । व्यवसायको कर कम गर्ने तथा ऋण उपलब्ध गराउने घोषणा यसअघि नै भइसकेको छ । बेलायत सरकारले यस्तो किसिमको सहयोग इतिहासमै पहिलोपटक गरेको हो । तर बेलायतले हाल सामना गरिरहेको आर्थिक क्षतिका अगाडि सरकारको सहयोग नगण्य जस्तै हुने कतिपय जानकारको भनाइ छ । कोभिड–१९ नियन्त्रण तथा त्रास कम नभएसम्म देशको अर्थतन्त्र कुन रूपले अगाडि बढ्छ, यकिन गर्न मुस्किल हुने विज्ञहरूको भनाइ छ ।
महामारीले आर्थिक गतिविधिमा पारेको असर मध्यनजर गर्दै बैंक अफ इंग्ल्यान्डले ब्याजदर शून्य दशमलब ७५ बाट शून्य दशमलब २५ मा झारेको छ । बैंक अफ इंग्ल्यान्डले अर्बौं पाउन्ड निकासा गरी साना व्यवसायीलाई ऋण दिने र आर्थिक गतिविधि कायम राख्ने पनि जनाएको छ ।

विदेश

हङकङमा विद्यालय बन्द

- कान्तिपुर संवाददाता

हङकङ (एएफपी)– हङकङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै सबै विद्यालय बन्द गरिएका छन् ।
हङकङका शिक्षामन्त्री केभिन योङले विगत केही दिनदेखि भाइरसको संक्रमण तीव्र देखिएको भन्दै बालबालिकाको सुरक्षाका लागि विद्यालय बन्द गर्नुपरेको जनाए । आर्थिक केन्द्रका रूपमा चर्चित हङकङमा बिहीबार समुदायस्तरमा ३४ जनामा भाइरसको संक्रमण देखिएको थियो ।
तीन महिनाको अवधिमा यति ठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । विद्यालय बन्द भए पनि परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने शिक्षामन्त्री योङले बताए ।
तर त्यस्ता विद्यार्थीले मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्नेछ । हङकङका सरकारी माध्यमिक विद्यालय भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । संक्रमण नियन्त्रणमा आएको भन्दै विद्यालय गत मे महिनाबाट खुला गरिएको थियो ।

Page 12
खेलकुद

रोकिएको छैन गौतम बुद्ध रंगशाला निर्माण

- रमेशकुमार पौडेल
रंगशाला निर्माणस्थल अगाडि तयार भएको नमुना क्रिकेट मैदान । अहिले राष्ट्रियस्तरका खेल खेल्न मिल्ने यो नमुना मैदान रंगशाला तयार हुँदा पार्किङ स्थल हुनेछ । तस्बिर : रमेशकुमार/कान्तिपुर

कोरोना कहरले कामदार र निर्माण सामग्रीकै अभाव छ । वर्षा सुरु भएको छ । काम गर्दा बाधा पर्न सक्छ । सर्वसाधारणबाट सहयोग रकम जुटाएर अर्बौंको काम गर्नुपर्नेछ । देश विदेशबाट पैसा जुट्ने सम्भावना कमजोर हुँदै गएको छ । एक हैन अनेक बाधा–व्यवधान र प्रतिकूल अवस्था भए पनि चितवन रामपुरमा बन्दै गरेको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकिएको छैन । जारी छ काम ।
सदरमुकाम भरतपुर र चितवनको मुख्य बजार क्षेत्र नारायणगढबाट पश्चिम लागेपछि ८ किलोमिटर दूरी पार गर्दा निर्माणस्थल पुगिन्छ । रामपुर क्याम्पसले परिचित कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गरकोमध्ये २० बिघा जग्गा घेरेर रंगशाला निर्माणको काम अगाडि बढेको छ । निर्माणस्थलको मुख्य गेटबाट छिर्नासाथ देखिन्छ हरियो गोलाकार चौर । यो क्रिकेट खेल्न तयार भएको नमुना मैदान हो ।
राष्ट्रियस्तरका कुनै पनि क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने यो नमुना मैदान ५५ मिटर रेडियसको छ । जसमा तीनवटा पिच छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुँदा यसको अस्तित्व रहने छैन । यहाँ पार्किङ एरिया बन्नेछ । तर बन्दै गरेको स्टेडियममा एउटा नमुना मैदान बनाउने र सम्भव भएका खेलहरू चलाउँदै जाने उद्देश्यले यो तयार भएको हो ।

 रंगशालाको प्यारापिटका लागि पिलरको कम गर्दै मजदुरहरू ।तस्बिर : रमेशकुमार/कान्तिपुर

नमुना मैदानदेखि केहीपर दाहिनेतर्फ साइट अफिस र क्यान्टिन छ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरे अहिले यहीं भेटिन्छन् । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने अभिभारा फाउन्डेसनले नै लिएको छ । अध्यक्ष कट्टेल परियोजना कार्यालयका प्रशासकीय प्रमुख मुक्ति तिमिल्सिनासँग आर्थिक पक्ष र भावी रणनीतिबारे छलफल गर्दै थिए ।
नमुना मैदान र कार्यालय क्षेत्रबाट दक्षिणतर्फ छ रंगशाला निर्माणस्थल । अस्थायी बारले यी क्षेत्रहरूलाई छुट्याएको छ । निर्माणस्थलमा निमित्त परियोजना व्यवस्थापक मणि दासले प्राविधिक र कामदारहरूलाई निगरानी गरी रहेका छन् । आकार आउँदै गरेको क्रिकेट मैदान र पिलर ठडिँदै गरेको प्यारापिट क्षेत्रको अगाडि उभिएर अध्यक्ष कट्टेलले भने, ‘साउन १ देखि कामलाई झनै तीव्र पार्नेछौं । हामी पटक्कै रोकिँदैनौं ।’

निर्माण यात्राका उतारचढाव
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता त पायो तर क्रिकेट रंगशालाको अभाव थियो । भूकम्पपछि बस्ती पुनर्निर्माणको अनुभव बटुलेको धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना सार्वजनिक गर्‍यो । फाउन्डेसनले देश विदेशमा रहेका नेपालीसँग सहयोग जुटाएर बस्ती निर्माणको काम गरेको थियो । बढीमा ६ करोड रुपैयाँसम्म खर्च गरेर एकीकृत बस्तीहरू तयार भएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न करोड हैन अर्बौं रुपैयाँ लाग्दछ । जग्गा उपलब्ध भए एकीकृत बस्ती निर्माण गर्दा सहयोग जुटाएझैं देश–विदेशका नेपालीबाट सहयोग उठाएर रंगशाला बनाउने फाउन्डेसनले घोषणा गर्‍यो । रंगशाला निर्माणका लागि रामपुरमा जग्गा जुट्यो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा क्रिकेट रंगशाला बन्ने भयो ।
विश्वविद्यालयको उत्तर–पश्चिम कुनामा रहेको घोल जग्गामा रंगशाला बनाउन फाउन्डेसनले भरतपुर महानगरपालिकासँग सहमति गरेको हो । उक्त जग्गा त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका तत्कालीन उपकुलपति ईश्वरीप्रसाद ढकालले
रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएका हुन् ।
२०७५ सालको माघ १६ मा काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपस्थितिमा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच रंगशाला निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर भयो । भरतपुर महानगरले जग्गा उपलब्ध गराएपछि सहयोग जुटाएर रंगशाला बनाउने अभिभारा फाउन्डेसनले लियो ।
त्यसको चार दिनपछि माघ २० गते फाउन्डेसनका अध्यक्ष कट्टेल, उपाध्यक्ष घिमिरेसहितको टोली निर्माणस्थल रामपुर आए । उनीहरूको भव्य स्वागत भयो । त्यो दिन भएको कार्यक्रममा अध्यक्ष कट्टेलले ६ महिनाभित्र रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र डीपीआर बनेको दुई वर्षभित्र रंगशाला निर्माण गरेर सक्ने उद्घोष गरे । त्यसपछि निर्माणस्थलमा अस्थायी बार लगाउने काम सुरु भयो ।
निर्माणस्थलको पश्चिम दिशाको बार लगाउँदै गर्दा स्थानीयले असहमति जनाए । विवाद बढ्दै गयो । गत वर्ष जेठ १५ मा डोजर नै लगाएर स्थानीयले बार भत्काए । यो घटनाले रंगशालाको भविष्य नै अन्योलमा पर्‍यो । फाउन्डेसनले तत्काल काम स्थगित गर्‍यो । भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति र फाउन्डेसनबीच छलफल भयो । सुरक्षा र सहयोग गर्ने प्रतिबद्धतापछि फाउन्डेसन काममा फर्कियो ।
डीपीआर तयार भएपछि गत मंसिर १ गतेदेखि निर्माणको काम औपचारिक सुरु भएको अध्यक्ष कट्टेलले बताए । निर्माण अगाडि बढ्न थालेपछि देश–विदेशका नेपालीले सहयोग गर्न थाले । ‘एक जना वृद्धा आमाले वृद्धभत्ता बुझेर जम्मा गरेको १० हजार रुपैयाँ हामीलाई दिनुभयो । दाल, चामल, नुन, तेल र सागका मुठाहरूसमेत ल्याएर दिए,’ परियोजनाका प्रशासकीय प्रमुख तिमिल्सिनाले भने ।
निर्माण अगाडि बढ्दै गर्दा ठूलो रकम आवश्यक पर्दथ्यो । त्यसका लागि धार्मिक महायज्ञ लगाउने योजना बन्यो । गत माघ १९ देखि २७ गतेसम्म रंगशाला निर्माणस्थलमै महायज्ञ सम्पन्न भयो । यज्ञ आयोजक समितिका महासचिव दिनेश चुकेका अनुसार त्यो बेला उठेको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण भइसकेको छ ।
तत्काल रकम नदिए पनि महायज्ञका बेला ६१ करोड ५० लाख ७९ हजार ४ सय ९१ रुपैयाँ रंगशालाका लागि सहयोग दिने भनेर विभिन्न निकायले कबोल गरेका छन् । त्यसमा सरकारी क्षेत्रले ५१ करोड ६० लाख ३० हजार ८ सय ३२ रुपैयाँ र निजी क्षेत्रले ९ करोड ९० लाख ४८ हजार ६ सय ५९ रुपैयाँ दिने भनेर कबोल गरेका महासचिव चुकेले जानकारी गराए । सवैभन्दा धेरै वाग्मती प्रदेश सरकारले ३० करोड रुपैयाँ दिने कबोल गरेको छ । महायज्ञले निर्माणका लागि उत्साह थपेको थियो । प्राविधिक र मजदुरहरू गरी दिनमै तीन सय जना काममा खट्न थाले । क्रिकेट मैदानको काम धमाधम हुँदै थियो । श्रीलंकाका पहिलो टेस्ट कप्तान बन्दुला बार्नापुराको सल्लाह र निर्देशनमा क्रिकेट मैदानको काम हुँदै छ । त्यसैगरी प्यारापिटको जग खन्ने र ढलान गर्ने काम पनि अगाडि बढेको थियो । त्यही बेला कोरोना कहर बढ्दै गयो । चैत ९ गतेदेखि निर्माण कार्य स्थगित भयो ।
‘मैदानको काम धेरै नै अगाडि बढेको थियो ।
चैतकै रफ्तारमा काम गर्न पाएको भए अहिले त लगभग मैदानको काम सकिन्थ्यो,’ अध्यक्ष कट्टेलले भने । रोकिएको काम वैशाख २० बाट बिस्तारै अगाडि बढ्दै छ । डीपीआरअनुसार क्रिकेट रंगशाला ३० हजार दर्शक अट्ने क्षमताको हुनेछ । ७५ मिटर रेडियसको मैदानमा सातवटा पिच हुनेछन् । प्यारापिटमा ३ सय ६८ वटा पिलर रहने निमित्त परियोजना व्यवस्थापक मणि दासले बताए ।
‘समग्रमा अहिले १० प्रतिशत हाराहारीमा काम भयो भन्दा हुन्छ । समस्याहरू यस्तो छ । कामको गति घटेको छ । पहिलाको तुलनामा १० प्रतिशत जति पनि कामको रफ्तार छैन,’ निमित्त व्यवस्थापक दासले भने । डीपीआरअनुसार रंगशालाको लागत तीन अर्ब रुपैयाँभन्दा बढी छ । हालसम्म १७ करोड २९ लाख रुपैयाँबराबरको काम भएको छ । अब कामको रफ्तार ह्वात्तै बढाउने तयारीमा फाउन्डेसन छ ।
अब के हुन्छ ?
‘आउँदो साउन १ लाई आधार मानेर त्यस दिनपछि १८ महिनाभित्र निर्माणको काम सक्ने तयारीमा जुट्ने हाम्रो योजना हो,’ फाउन्डेसनका अध्यक्ष कट्टेलले भने । मैदानको काम १५ प्रतिशत बाँकी छ । प्यारापिटको पिलरको जग राख्ने काम लगभग सकिएको छ । वैशाख २० देखि लगभग सय कामदार फिल्डमा जुटेका छन् । ७० वटा पिलर ढलानको काम अगाडि बढ्दै छ । कामको रफ्तार बढाउन कामदारसँगै खर्च पनि आवश्यक पर्दछ । आउँदा दिनहरूमा दैनिक हजार जना कामदार खट्नुपर्ने हुन्छ ।
देश विदेशका नेपालीबाट सहयोग जुटाउने अभियानमा कोरोना कहरले बाधा पुर्‍याएको छ । पहिला दिनमा सरदर ७ लाख रुपैयाँ सहयोग राशि जुट्ने गर्दथ्यो । अहिले फाट्टफुट्ट कुनै दिन ४०–५० हजार रुपैयाँ आउँछ । कुनै दिन केही पनि जुट्दैन । महायज्ञका बेला दिने भनर कबोल गरिएको बाँकी ६१ करोड रुपैयाँ दिन थाले यो बेला धेरै सहज हुने उनले बताए । यसमध्ये ग्लोबल आईएमई बैंकले हालै मात्र एक करोड दिएको छ ।
‘अहिलेलाई हाम्रो ठूलो आशा भरोसा भनेकै त्यही महायज्ञका बेला बोलेको रकम नै हो,’ अध्यक्ष कट्टेलले भने । अहिलेसम्म १७ करोड रुपैयाँभन्दा बढी खर्च भए पनि आम्दानी १४ करोड रुपैयाँ मात्रै छ । कट्टेलले सरकारले पनि अनुदानको रूपमा सहयोग गर्न सक्ने बताउँछन् । तर अहिलेसम्म सरकारबाट हेटौंडा उपमहानगरको ३० लाख रुपैयाँबाहेक नगद सहयोग अन्यत्रबाट आएको छैन । सरकारी निकायहरू सकारात्मक भएको हुँदा आफू आशावादी भएको उनले बताए । लकडाउन र कोरोनाको महामारी नआएको भए जनस्तरबाटै सहयोग जुट्ने राम्रो वातावरण बन्दै गएको सुनाउँछन् अध्यक्ष कट्टेल । ‘यस्तो विषम अवस्था छ । हामीलाई सहयोग दिनुस्/गर्नुस् मात्रै कति भन्ने ? तर काम आँट्यौं, गर्दै पनि छौं । अहिलेसम्म हामीले आर्थिक कारणले काम रोकेका छैनौं । अब पनि त्यस्तो पक्कै हुँदैन भन्ने लाग्छ,’ उनले भने ।

खेलकुद

आत्मविश्वासी म्यानचेस्टर लयमा

- द गार्डियन

व्यवस्थापक डिन स्मिथ यसै साता आफ्ना एस्टन भिल्ला खेलाडीलाई भिडियो सेसनमा सिकाउने प्रयास गरिरहेका थिए, कसरी चलाखीपूर्ण रूपमा दौडिने अनि कसरी अचूक ढंगले प्रहार गर्ने ।
तर भिल्ला पार्कमा बिहीबार भएको खेलमा मेसन ग्रिनउडले मैदानमै त्यसको उदाहरण पेस गरे । उनले गरेको त्यो गोललाई अद्वितीय र दुर्लभ दुवै मान्न सकिन्छ । म्यानचेस्टर युनाइटेडले आत्मसात् गरेको ३–० जितले क्लब आफैं शीर्ष चार निकै नजिक पुगेको छ ।
एस्टन भिल्लाको रेलिगेसन डर भने अझ गहिरिएको छ । त्यो जितमा पाउल पोग्बाले सिजनको आफ्नो पहिलो गोल हात पारे । उनको गोल पनि उत्तिकै माथिल्लो दर्जाको थियो । गोलको खाता खोल्ने काम भने ब्रुनो फर्नान्डेजले गरेका थिए, यसमा भिल्लाको गुनासो भने हुनेछ । आखिरमा यो पेनाल्टीमा सम्भव गोल थियो । जस्तै बहाना भए पनि अब भिल्लाले आफ्नो सम्पूर्ण ध्यान आइतबार क्रिस्टल प्यालेसविरुद्ध हुने खेलमा केन्द्रित गर्नुपर्नेछ ।
यस्तो किनभन्दा उसको रेलिगेसनबाट बच्न आस धेरै हदसम्म यही खेलमा निर्भर हुन सक्छ । यसको ठीक विपरीत म्यानचेस्टरले भने चौथो स्थानमा रहेको लेस्टर सिटीसँगको दूरी जम्माजम्मी १ अंकमा झारेको छ । म्यानचेस्टर भिल्ला पार्कमा ओर्लिनुअगाडि लिगका अरू सबैले खेलिसकेको थियो, त्यसैले उसका सामु आफूअनुकूल नतिजा निकाल्ने अवसर थियो । त्यसो त म्यानचेस्टरको डिफेन्स अझै धेरै राम्रो मान्न सकिन्छ, तर यो त्यति पनि कमजोर थिएन, भिल्लाले तोड्न सक्ने ।
त्यसैले भिल्लाले खासै राम्रो आक्रमण बुन्न सकेन् । लिग फेरि सुरु भएयता भिल्लाको प्रदर्शन त्यस अगाडिको तुलनामा केही राम्रो छ, तर यो पनि रेलिगेसनबाट बच्न पर्याप्त देखिएको छैन् । स्मिथसँग उपलब्ध तीन फरवार्डमध्ये उनीहरूले आफ्नो खेलजीवनमा सबै मिलेर खाली एक गोल गरेका थिए प्रिमियर लिगमा । म्यानचेस्टरका ग्रिनउड पनि भर्खर १८ वर्षका भए । तर, उनले नौपल्ट सुरुदेखि खेल्न पाएकोमा ९ नै गोल गरिसकेका छन् ।
अझ उनले सबैखाले प्रतियोगितामा यसपल्ट गरेको गोलसंख्या १७ पुगिसकेको छ । उनले जसरी गोल गरिहेका छन्, त्यसका आधारमा सबैको ध्यान पनि खिचिरहेका छन् । त्यसैले त म्यानचेस्टर व्यवस्थापक ओले गनर सोल्सायरले पनि मानेका छन्, टिममा अब ग्रिनउडलाई छुटाउन सक्ने स्थिति नै रहेन । तर उनले चेतावनी दिएका छन्, ग्रिनउड भर्खरका ठिटा छन्, ध्यान अन्यत्र मोडिन सक्छ । त्यसैले उनी आफैले अनुशासित जीवन जिउनुपर्छ ।
खाली ६ वर्षको भर्खरको केटो छँदा ग्रिनउड म्यानचेस्टरको एकेडेमीमा आबद्ध भएका थिए र त्यसयता उनी धेरै हुर्किसकेका छन् । सोल्सायर कम्तीमा के मान्छन् भने ग्रिनउड निकै प्रतिभाशाली खेलाडी हुन्, उनले आफ्नो प्रतिभा खेर पठाउनु हुँदैन । सोल्सायर भन्छन्, ‘ग्रिनउड धेरै वर्षका भएका छैनन्, तर उनले म्यानचेस्टरमा बिताएको भने धेरै वर्ष भइसकेको छ, त्यसैले उनले आफ्नो खेल जीवनबाट आफैं गम्भीर हुने हो, हाम्रो सहयोग त आफ्नो ठाउँमा छँदै छ ।’

खेलकुद

सेभियाको लगातार तेस्रो जित

- कान्तिपुर संवाददाता

म्याड्रिड– सेभियाले युरोपेली च्याम्पियन्स लिग छनोटको अझ नजिक पुग्नका लागि बिहीबार एथलेटिको बिल्बाओलाई २–१ ले हराएको छ । सेभियाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर स्पेनी ला लिगामा यो जित निकालेको हो । यो जितपछि सेभियाले पाँचौं स्थानको भिल्लारियलमाथि ६ अंकको अग्रता खोलेको छ ।
सेभियाको यो लगातार तेस्रो जित पनि रह्यो । आन्द्रे कापाको गोलमा बिल्बाओले अग्रता लिएको थियो । त्यसयता इभर बेनेगा र मुनिर अल हाड्दीले सेभियाका लागि गोल गरे । अन्य खेलमा रियल मायोर्काले लेभान्टेलाई २–० ले हरायो भने आइबर र लेगानेसले गोलरहित बराबरी खेले ।

इन्टर बराबरीमा रोकियो
रोम– इन्टर मिलान इटालीको सिरी ‘ए’ मा बिहीबार भेरोनासँग २–२ को बराबरीमै रोकिएको छ । यो नतिजापछि एन्टोनियो कोन्टेको टिम अंकतालिकाको तेस्रो स्थानमा उक्लन असफल रह्यो । दोस्रो हाफमा फेडरिको मिमार्कोले आत्मघाती गोल गरेपछि इन्टरले एकै अंकमा चित्त बुझाएको हो । भेरोनाले २८ वर्षयता इन्टरलाई हराउन भने सकेको छैन । इन्टर चौथो स्थानमा आरामले रहेको छ । उसको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो छ । बिहीबारै अर्को खेलमा युडिनेसीले अन्तिम स्थानको स्पाललाई ३–० ले हरायो ।

खेलकुद

सेना मुख्यालयमा एन्फाको सहयोग

- कान्तिपुर संवाददाता

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयस्थित खेल मैदानको स्तरोन्नति र खेलाडी, रेफ्रीका लागि ‘चेन्जिङ रुम’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग गरेको छ ।
‘अन्तर्राष्ट्रियस्तरको सुविधाका रूपमा स्तरोन्नति गर्नका लागि एन्फाले सहयोग गरेको हो,’ सेनासँगको सहकार्यबारे एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘हामीले भीभीआईपी प्यारापिटमुनि खेलाडी र रेफ्रीका लागि चेन्जिङ रुम तयार गरेका हौं । मैदान स्तरोन्नति पनि गरेका छौं ।’
त्यसमा १५ लाख रुपैयाँ खर्च भएको उल्लेख गर्दै एन्फाले अर्को चरणमा प्लेयर बक्स र प्यारापिटमा कुर्सी राख्ने जनाएको छ ।
उक्त कार्य पूरा भएसँगै एन्फाले शुक्रबार सेनालाई उक्त सामग्री हस्तान्तरण गर्‍यो । कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भने, ‘फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीको लागि अभ्यासस्थलको रूपमा एन्फालाई उपयोग गर्न दिनेछौं ।’ यससँगै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको बेला एन्फाले टिमहरूलाई उपलब्ध गराउने मैदान पनि वृद्धि भएको छ । विगतमा एन्फाले सशस्त्र प्रहरीको हल्चोक मैदान र नेपाली सेनाकै लगनखेलस्थित शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रको मैदान प्रयोग गर्दै आएको थियो ।
नेपाली राष्ट्रिय टिमले विश्वकप २०२२/एसियन कप २०२३ छनोटको दोस्रो चरणमा तीन खेल खेल्न बाँकी छ, जुन कोरोना भाइरसको महामारीको कारण स्थगित भएको थियो । ती तीनै खेल नेपालले घरेलु भूमिमा खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यसको तयारीमा भद्रकालीको मैदान उपयोग गर्न सक्नेछ ।