You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

ऋण लिनेलाई केही सजिलो

मौद्रिक नीतिले ग्रामीण कर्जा विस्तार तथा कोभिड–१९ ले असर पारेको क्षेत्रलाई सम्बोधन गरेकाले सकारात्मक प्रभाव पार्ने र कर्जाको पहुाच विस्तारमा सहयोग पुग्ने
- यज्ञ बञ्जाडे
आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी । तस्बिर : रासस

(काठमाडौं) - सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज हुने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण र पुनर्कर्जासम्बन्धी व्यवस्थाहरू गरिएकाले ऋण परिचालन सहज हुने भएको हो । नयाँ व्यवस्थाले निक्षेपको ब्याज धेरै तल झर्न नपाउनुका साथै कर्जाको ब्याजदर पनि वाञ्छित सीमाभित्र रहने दाबी राष्ट्र बैंकले गरेको छ ।
मौद्रिक नीतिले ग्रामीण कर्जा विस्तार र कोभिड–१९ ले असर पारेको क्षेत्रलाई सक्दो सम्बोधन गरेकाले सकारात्मक प्रभाव पार्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ब्याजदरको अधिकतम सीमा १५ प्रतिशत भनिएको छ,’ उनले भने, ‘यसले ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमी (एसएमई) मा सकारात्मक प्रभाव पार्छ ।’ वाणिज्य बैंकहरूले कुल ऋणको १५ प्रतिशत एक करोड रुपैयाँभन्दा कम रकमका एसएमईमा लगानी गर्ने व्यवस्थाले कर्जाको पहुँच विस्तारमा सहयोग पुग्ने उनले बताए ।
अब बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । यसअघि ८० प्रतिशतसम्म मात्रै गर्न पाइन्थ्यो । कर्जा निक्षेप तथा पुँजी अनुपातमा गरिएको सीमा वृद्धिले बैंक तथा वित्तीय संस्थालाई उक्त सुविधा प्राप्त भएको हो । ‘तर कर्जा स्रोत परिचालन अनुपात गणना गर्दा यसभन्दा पहिले गर्ने गरिएका सबै प्रकारका समायोजन खारेज गरिने छन्,’ नीतिमा भनिएको छ । यसअघि सीसीडीमा सहुलियत कर्जालगायत क्षेत्रमा प्रवाह भएको ऋण समावेश गर्नु नपर्ने व्यवस्था थियो ।


अहिले सीमा बढाइए पनि सहुलियतपूर्ण कर्जा गणना नपाइने भएकाले तरलतामा खासै प्रभाव नपर्ने बैंकरहरू बताउँछन् । मौद्रिक नीतिमा सीसीडीको सीमा बढाइएकाले वित्तीय उत्प्रेरणाका लागि व्यवस्था गरिएको करिब साढे २ खर्बको कोषको औचित्य रोकिएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘विरोधाभासपूर्ण तरिकाले आयो,’ उनले भने, ‘यस्तो बेला मौद्रिक नीतिमार्फत आएको कर्जा सहजीकरणका लागि गरिएको व्यवस्थाले काम गर्दैन ।’
बजारमा अधिक तरलता रहेको समयमा पुनः बजारमा पैसा पठाउने नीति आए पनि कार्यान्वयनको विश्वसनीयतामा शंका उब्जाएको उनले बताए । ‘अहिले बजारमा करिब १ खर्ब ७० अर्ब अधिक तरलता छ,’ उनले भने, ‘त्यो पैसा व्यवस्थापन नगरेर राष्ट्र बैंकको विश्वसनीयतामा शंका उब्जेको छ ।’ नीति कार्यान्वयन हुन सके ऋण परिचालनमा थप सहयोग पुग्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा लिने सेवा सुविधामा समेत राष्ट्र बैंकले कडाइ गरिदिएको हुनाले ऋण परिचालनमा केही प्रोत्साहन पुग्ने देखिन्छ । अब कर्जा स्वीकृति गर्दा सेवा शुल्कबापत वाणिज्य बैंकले अधिकतम ०.७५ प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने छन् । विकास बैंकले १ प्रतिशत, वित्त कम्पनीले १.५० प्रतिशत र लघुवित्त वित्तीय संस्थाले १.५० प्रतिशतसम्म मात्रै सेवा शुल्क लिन पाउने छन् । यसअघि कतिपय वाणिज्य बैंकहरूले १.५ प्रतिशतसम्म सेवा शुल्क लिने गरेका थिए । साथै मौद्रिक नीतिले हरेक बैंकिङ गतिविधिमा केवाईसी चाहिने व्यवस्थालाई केही सरल बनाउँदै त्यसमा एकद्वार नीति गर्ने राष्ट्र बैंकले बताएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न क्षेत्र तोकेर निश्चित प्रतिशत कर्जा अनिवार्य परिचालन गर्नुपर्ने सीमा तोकिदिएकाले पनि ऋण विस्तारलाई दबाब पुग्ने देखिएको छ । अब वाणिज्य बैंकले ०८१ असारभित्र कुल लगानीको न्यूनतम १५ प्रतिशत लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा एक करोड रुपैयाँभन्दा कमका कर्जा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । साना ऋणीले सहज रूपमा कर्जा नपाएको गुनासो आइरहेको समयमा उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ । यो व्यवस्थाले एसएमईको क्षेत्रमा कर्जा विस्तार हुने देखिन्छ । ‘यस्तो कर्जा ऋणीलाई ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा पनि मौद्रिक नीति बोलेको छ । ‘सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित क्षेत्र र वर्गमा बैंकले कम्तीमा ५ सय वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रियस्तरका विकास बैंकले कम्तीमा ३ सय वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ, सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ । यो व्यवस्थाले बैंकले अनिवार्य रूपमा सहुलियत ब्याजदरको कर्जा प्रवाह गर्नुपर्नेछ । जसमा प्रादेशिक सन्तुलन पनि कायम गर्नुपर्नेछ ।
विकास बैंक कुल कर्जाको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीले १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । यसका लागि २०८१ असार मसान्तसम्मको समय दिइएको छ । यसअघि प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको विकास बैंकले न्यूनतम १५ र वित्त कम्पनीले १० प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था थियो ।

पुनर्कर्जामा पनि सीमा
सहुलियत ब्याजदरमा प्रदान गरिने पुनर्कर्जा वितरणमा पनि विभिन्न सीमा तथा मापदण्ड तोकिदिएकाले यसले ऋण विस्तारलाई सहयोग पुग्ने जानकारहरूले बताएका छन् । हाल उपलब्ध पुनर्कर्जा कोषको ५ गुणासम्म पुनर्कर्जा प्रवाह गरिने, कोषको ७० प्रतिशत रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीबाट परिचालन गर्न दिइने, २० प्रतिशत राष्ट्र बैंकले वितरण गर्ने र १० प्रतिशतसम्म लघुवित्त वित्तीय संस्थामार्फत एकमुस्ट रूपमा प्रदान गरिने नीतिमा उल्लेख छ । ‘बैंक तथा वित्तीय संस्थालाई एकमुस्ट प्रदान गरिने पुनर्कर्जामा प्रतिग्राहक लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको सीमा १५ लाख, विशेष तथा साधारण पुनर्कर्जाको सीमा ५ करोड र ग्राहकअनुसार मूल्यांकनका आधारमा प्रदान गरिने साधारण पुनर्कर्जाको सीमा २० करोड हुने व्यवस्था मिलाइएको छ,’ मौद्रिक नीतिमा भनिएको छ ।
कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानमा मौद्रिक नीति केन्द्रित रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले दाबी गरे । ‘कर्जाको सहज उपलब्धतासँगै ब्याजदर र मूल्यवृद्धि स्थायित्वमा पनि जोड दिइएको छ,’ उनले भने, ‘मौद्रिक नीतिमा आएका सबै व्यवस्था कार्यान्वयनपछि कर्जा विस्तार बढ्छ, निक्षेपको ब्याजदर धेरै घट्दैन भने कर्जाको धेरै बढ्दैन ।’

सेयर धितोको सीमा ७० प्रतिशत
सेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाका लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्यांकन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था नीतिमा छ । तर, सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्यांकन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन बनाइएको छ ।
आर्थिक वर्ष ०७६/७७ मा बैंक तथा वित्तीय संस्थाले कुल वितरणयोग्य रकमको बढीमा ३० प्रतिशत मात्र नगद लाभांश वितरण गर्न पाउने भएका छन् । यसरी वितरण गरिने लाभांश संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरभन्दा बढी हुन नपाउने पनि राष्ट्र बैंकले प्रस्ट्याएको छ । यसको अर्थ बैंकले वितरण गर्ने प्रतिकित्ता नगद लाभांश बैंकले निक्षेपमा प्रदान गर्ने औसत ब्याजभन्दा धेरै नहुने भन्ने हो । तरलता पर्याप्त भएका बेला बैंकले निक्षेपको ब्याज धेरै नघटाउन भन्नका लागि उक्त सीमा तोकिएको बताइएको छ । ‘तर कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका इजाजतपत्र प्राप्त संस्थाको नगद लाभांश वितरणमा रोक लगाइनेछ,’ नीतिमा भनिएको छ । कर्मचारीलाई वितरण गर्ने बोनसबारे भने नीतिमा केही उल्लेख छैन ।

ऋणपत्र निष्कासनमा म्याद थप
वाणिज्य बैंकले ०७७ असारसम्म आफ्नो चुक्ता पुँजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नुपर्ने समयावधि ०७९ असारसम्म थप गरिएको छ । पुँजी कोष पर्याप्ततासम्बन्धी व्यवस्थालाई थप परिष्कृत बनाउँदै लैजाने अभिप्रायले इजाजत प्राप्त क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङका आधारमा समेत कर्जाको जोखिम भार निर्धारण गर्ने व्यवस्था छ ।

अन्य संस्थामा पनि गो एमएल
सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा आधारित कारोबारको जोखिम मापन तथा विश्लेषण प्रभावकारी बनाउन सुपरिवेक्षकीय क्षमता अभिवृद्धि गरिने नीतिले जनाएको छ । यसका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय प्रावधानअनुरूप पारस्परिक मूल्यांकनसम्बन्धी कार्य सम्पन्न गर्न आवश्यक समन्वय गरिने बताइएको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीतिमा उल्लिखित यस बैंकसँग सम्बन्धित कार्यको प्रभावकारी कार्यान्वयन गरिनेछ,’ नीतिमा उल्लेख छ, ‘सम्पत्ति शुद्धीकरण एवं आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि गो एमएल सिस्टमको दायरामा बैंक तथा वित्तीय संस्थाका अतिरिक्त अन्य सूचक संस्थालाई समेत आबद्ध गरिनेछ ।’
लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । यो व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि लघुवित्त वित्तीय संस्थामा आधार दर गणना विधि तय गरी ब्याजदर निर्धारणलाई थप व्यवस्थित बनाइने राष्ट्र बैंकले बताएको छ । ‘लघुवित्त वित्तीय संस्थाको इजाजत दिने कार्य स्थगन गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाको इजाजत प्रक्रियासमेत रद्द गरिएको छ ।’
प्रदेशस्तरका लघुवित्त वित्तीय संस्थाले तोकिएको प्रदेशबाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण गर्न म्याद दिइएको छ । कारोबार एउटै प्रदेशमा सीमित गर्नुपर्ने सीमा ०७८ असार मसान्त कायम गरिएको छ । ‘व्यावसायिक परियोजनाका लागि स्वीकारयोग्य धितो लिई तोकिएका कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई प्रदान गरिने कर्जा सीमा ७ लाखबाट बढाई १५ लाख कायम गरिनेछ,’ नीतिमा भनिएको छ । यसले साना तथा घरेलु उद्यमीकाको कर्जा पहुँच बढ्ने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विपन्न वर्ग कर्जाका रूपमा लघुवित्त वित्तीय संस्थालाई प्रवाह गर्ने कर्जामा ०.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने र लघुवित्त वित्तीय संस्थाको शाखा नभएका स्थानीय तहका वडामा मात्र शाखा खोल्न पाउने व्यवस्था छ ।

 

मुख्य पृष्ठ

किस्ताको भाखा पर

- कृष्ण आचार्य

(काठमाडौं) - कोभिड–१९ को त्रास र लम्बिँदो आंशिक लकडाउनबाट प्रभावित क्षेत्रले ऋणको साँवा र ब्याज बुझाउनुपर्ने भाखा पर सरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले भाखा पर सारिदिएपछि उद्यम, व्यापार तथा व्यवसाय नभई आम्दानी गुमाइरहेका क्षेत्रले बैंकको किस्ता तत्काल नतिरे हुने भएको हो । राष्ट्र बैंकले कम प्रभावित, मध्यम प्रभावित र अति प्रभावित भन्दै किस्ता बुझाउने समय थप गरिदिएको छ ।
मौद्रिक नीतिमा उल्लेख भएअनुसार कोभिड–१९ का कारण कम प्रभावित भएका क्षेत्रले पुस मसान्तसम्म आफैंले लिएको ऋणको किस्ता बुझाए हुन्छ ।
मध्यम प्रभावितले चैत मसान्तसम्म बुझाउन मिल्छ भने अति प्रभावितलाई यस्तो सुविधा ०७८ असार मसान्तसम्मका लागि तोकिएको छ । कम, मध्यम र अति प्रभावित क्षेत्र कुन–कुन हुन् भन्ने विषयमा भने मौद्रिक नीति बोलेको छैन ।
यस विषयमा राष्ट्र बैंकले अब जारी गर्ने निर्देशिका वा अन्य कुनै कार्यविधिबाट स्पष्ट पार्न जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । ‘सम्भवत राष्ट्र बैंकले यसबारे गृहकार्य गरिरहेको होला,’ उनले भने । ०७७ असार मसान्तसम्म असुल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता बढीमा ६ महिनासम्म भाखा सार्न सक्ने व्यवस्था पनि गरिएको छ । ऋणको साँवा वा ब्याजको भुक्तानी समय थप गरेबापत ग्राहकबाट पेनाल ब्याज, शुल्क वा हर्जाना लिन नपाइने व्यवस्थासमेत नीतिले गरिदिएको छ ।

‘हामीले माग गरेका अधिकांश विषय सम्बोधन भएका छन् । यो नीतिले लगानीलाई प्रोत्साहन गर्छ भन्ने लागेको छ । यसकारण मौद्रिक नीति सकारात्मक छ,’ मुरारकाले भने । अल्पकालीन चालु पुँजी कर्जाहरूको समय पनि नवीकरण गर्ने व्यवस्था गरिएको छ । ‘०७७ असार महिनासम्म भुक्तानी अवधि झएका डिमान्ड लोन, क्यास त्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालु पुँजी कर्जाहरूलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी ०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने’ व्यवस्था मौद्रिक नीतिमा छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै क्षेत्रलाई पनि गुनासो हुन नदिने गरी नीतिले सम्बोधन गरिदिएको दाबी गरे । ‘यसले निजी क्षेत्रको मनोबल उकास्ने छ,’ उनले भने । कोभिड–१९ बाट कुन–कुन क्षेत्र बढी, मध्यम र कम प्रभावित भन्ने सूची सार्वजनिक गरिहाल्ने उनको भनाइ छ । ‘प्रभावितले बैंकको किस्ता तिर्नलाई दबाब महसुस गर्नु नपर्ने वातावरण बनाउँछौं,’ उनले भने, ‘सहज रूपमा ऋण पनि उपलब्ध हुने गरी मौद्रिक नीतिमा व्यवस्था गरेका छौं ।’

पुँजीकरण र पुनःसंरचनाको सुविधा
कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरणका विषयमा पनि नीति बोलेको छ । ‘२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेको कर्जालाई ऋणीले ०७७ पुस मसान्तभित्र लिखित कार्य योजना पेस गरेमा बैंक तथा वित्तीय संस्थाले विश्लेषण गरी न्यूनतम १० प्रतिशत ब्याज असुलउपर गरी एक पटकका लागि कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने’ नीतिमा भनिएको छ । केही आयोजनाको कोभिड–१९ का कारण थपिएको ग्रेस अवधिभित्र पाकिसकेको ब्याज पुँजीकरण गरिदिने बाटो पनि नीतिले खुला गरिदिएको छ । ‘निर्माणाधीन पूर्वाधार आयोजनामा प्रवाहित कर्जाको ग्रेस अवधिमा पाकेको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाइसकेका कर्जा ०७७ पुस मसान्तसम्म पुँजीकरण गर्न सकिने व्यवस्था गरिदिएको छ,’ नीतिमा उल्लेख छ ।
ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा ६ महिनादेखि दुई वर्षसम्म अर्को पटक ग्रेस अवधि थपिदिने व्यवस्था पनि गरिएको छ । नीतिमा ‘पर्यटक स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने’ उल्लेख छ ।
कर्जा वर्गीकरणमा पनि सुविधा
०७६ पुस मसान्तमा नियमित र असल वर्गमा रहेका कर्जालाई कोभिड–१९ को प्रभावले कमसल हुन नपरोस् भनेर कर्जा वर्गीकरण सम्बन्धमा विशेष व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । यसअन्तर्गत ०७६ पुस मसान्तमा असल वर्गमा रहेका कर्जालाई ०७७ असार मसान्तमा समेत असल वर्गमा नै वर्गीकरण गर्न सकिने छ । ‘असल वर्गमा रहे पनि ०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाका लागि आर्थिक वर्ष ०७६/७७ को हिसाबमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ,’ नीतिमा भनिएको छ ।

थप २० प्रतिशत कर्जा
कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसाय सञ्चालन गर्न व्यवसायीले गत चैतमा कायम सीमामा थप २० प्रतिशतसम्म कर्जा लिन पाउने भएका छन् । यसअघि यस्तो सीमा १० प्रतिशत थियो । यो गत चैतमा कायम रहेको चालु पुँजी कर्जाको सीमा हो । ‘सरकारको बजेटमा व्यवस्था गरेको ५० अर्बको कोष परिचालन गरी कोभिड प्रभावित क्षेत्रका उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ,’ नीतिमा भनिएको छ ।

बैंकका कर्मचारीको सुविधा घट्न सक्ने
कोभिड–१९ को परिस्थितिपछि मितव्ययिता अपनाउनुपर्ने र त्यसका लागि छुट्टै मापदण्ड जारी गर्ने घोषणा मौद्रिक नीतिले गरेको छ । ‘कोभिड–१९ का कारण मितव्ययिता कायम गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ,’ नीतिमा भनिएको छ, ‘सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा निर्धारण सम्बन्धमा मापदण्ड तर्जुमा गरिनेछ ।’

अन्तरबैंक एटीएम शुल्क नलाग्ने
कोभिड–१९ को अवधि रहुन्जेल अब एटीएमबाट जुनसुकै बैंकमार्फत पैसा निकाल्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । चैत ११ गते लकडाउन सुरु भएपछि यस्तो शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । तर यसै साता बैंकहरूले अब शुल्क लाग्ने जनाएका थिए । मौद्रिक नीतिले अब कोरोनाकालभर यस्तो शुल्क नलाग्ने बनाइदिएको हो । ‘कोभिड–१९ को असर रहेसम्मका लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरे शुल्क नलाग्ने व्यवस्था मिलाइनेछ,’ नीतिमा भनिएको छ ।

 

मुख्य पृष्ठ

‘कमैयाके फुटल करम’

- ठाकुरसिंह थारू,मधु शाही,दुर्गालाल केसी
दाङको लमही–८ सतबरियाका मुक्त कमैया । तस्बिर ः दुर्गालाल केसी/कान्तिपुर

(बर्दिया/बाँके/दाङ) - माटीके बिछौना, माटीके ओरहैना,
माटीके जनम हो,
कहे देहलो इसरा महादेव,
कमैयाके फुटल करम हो...
(माटोको बिछ्यौना, माटोकै ओढ्ने, माटोकै जन्म हो, भनिदेऊ न महादेव, कमैयाको कर्म फुटेको छ)

बर्दियाको बढैयाताल गाउँपालिका–४, नयाँबस्तीका हरिराम चौधरी मुक्त कमैया हुन् । सानैमा कमैया बसेका थिए । सरकारले कमैया मुक्त घोषणा गरेको शुक्रबार २० वर्ष पुग्यो । तर, उनको जीवनमा परिवर्तन आएको छैन । कमैया बस्दा एक जना ‘मालिक’ हुन्थे । मुक्तिपछि दैनिक फेरिन्छन् । ज्यालादारी गरेर परिवार पालिरहेका थिए । कोरोनाको महामारीपछि ज्याला मजदुरी टुट्यो । घरमै छन् । अहिले छाक टार्न मुस्किल छ । ‘मुक्तिपछि घर बनाउन जग्गा पाइयो,’ उनले भने, ‘खेती गर्ने जग्गा पाइएन । कमैयाके फुटल करम ।’ कागजमा मुक्ति मिले पनि गरिबीले पुरानै अवस्थामा बाँच्नुपरेको उनले बताए । ०५७ साउन २ गते मुक्ति घोषणापछि खुसीले उफ्रिएको पल उनलाई झलझली सम्झना छ । टोलमा नाचगान भएको थियो । घरबास र खेतीपातीका लागि जमिन पाउने आसले भोज खाएका थिए । तर, सरकारी व्यवहारले छिट्टै निराश तुल्यायो । घोषणा भएको केही वर्ष मुक्ति दिवस पनि मनाए । अहिले मनाउन छाडिसकेका उनले बताए् । ‘मुक्ति पाएको दिन सम्झेर खुसी मनाउँथ्यौं,’ उनले भने, ‘अहिले त्यो पनि मनाउन मन लाग्दैन । जग्गा पाए खुसी लाग्थ्यो ।’
नयाँबस्तीकै मीना चौधरी मुक्त कमैया परिवारकी हुन् । सरकारको व्यवहारप्रति उनी पनि खुसी छैनन् । ‘जमिनदारको घरमा कमलरी बस्दा रातदिन काम गर्नुपर्थ्यो । मुक्तिपछि मजदुरी गर्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रो दुःखमा कमी आएको छैन ।’ आफ्नै जमिन नहुँदा स्वरोजगार बन्न नसकेको उनले बताइन् । गाउँपालिकाको खैरेनी जंगलमा नयाँबस्ती बसाइएको छ । यहाँ ५० भन्दा बढी घर छन् । यहाँका बासिन्दा मजदुरी गर्न नेपालगन्ज पुग्छन् । भारतको सिमला र गुजरातसम्म पुग्छन् । केही काठमाडौं, पोखरा, गोरखा, लमजुङ गएका थिए । लकडाउनपछि फर्किएका छन् । अहिले उनीहरू काम नपाएर घरमै बसेका छन् । थोरै जग्गामा रोपाइँ गरेका छन् ।
बढैयाताल–५, फूलबारीका ५५ वर्षीय मानबहादुर थारूको आधा जीवन कमैया बसेर बित्यो । मुक्तिपछि सडक छेउको खाली जग्गामा घर बनाएर बसेका थिए । सडक विस्तारका क्रममा त्यही जग्गा पनि काटियो । एक–दुई धुर जग्गामा बस्न मुस्किल भएपछि विकल्प खोजिरहेका छन् । ऋण तिर्न नसकेपछि दाङबाट यहाँ आएर बसेका थिए । शुक्रबार परेको मुक्त कमैया दिवसबारे उनी बेखबर थिए । ‘कमैयाले पनि के दिवस मनाउने ?,’ उनले भने, ‘खुसी हुनेले पो मनाउने हो ।’ ३० वर्षसम्म लगातार कमैया बसेको अनुभव उनले सुनाए । दाङको डोरवा गाउँमा १३ वर्षको उमेरमै कमैया बसेका थिए । त्यस क्रममा निकै दुर्व्यवहार खेप्न पर्‍यो । सरकारले मुक्त कमैयालाई दिएको जग्गा जंगल र खोला किनारमा छ । एउटै जग्गा दुई व्यक्तिका नाममा दर्ता भएको छ । कित्ताकाट गर्दा साटफेर भएको छ । अर्काको जग्गा पनि मुक्त कमैयाका नाममा दर्ता हुँदा खोसिने खतरा छ ।
बर्दियामा अझै पनि ६५ जना मुक्त कमैयाको पुनःस्थापना हुन बाँकी छ । कमैया महिला जागरण समाज बर्दियाका अनुसार १६ हजार २ सय ६२ कमैया परिवार छन् । तीमध्ये ११ हजार ८ सय ७५ मुक्त कमैयाले घर बनाउन जग्गा पाएका छन् । ४ हजार ३ सय ३७ जनाले घर बनाउनका लागि रकम पाएका थिए । समाजकी अध्यक्ष बिस्नी चौधरीले अझै पनि बर्दियामा ६५ मुक्त कमैया परिवार पुनःस्थापना हुन नसकेको बताइन् । कतिपय कमैयाको जग्गा जमिनदारले खोस्न खोजेको उनको आरोप छ । ‘पुनःस्थापना भइसकेका मुक्त कमैयाहरूसँग खेती गर्ने जग्गा नभएकाले उनीहरूको जीवनस्तर माथि उक्सिन सकेको छैन । पुनःस्थापना हुन बाँकी रहेकाहरूको अवस्था झन् दयनीय छ,’ उनले भनिन्, ‘सरकार मुक्त कमैयाहरूको अवस्थाबारे बेखबर छ ।’ स्थानीय सरकार आएपछि मुक्त कमैयाको पुनःस्थापनाका लागि जनप्रतिनिधिले जिम्मा लिनुपर्ने उनको सुझाव छ ।
िि
िआँपको छहारीमुनि हाते पंखा हल्लाउँदै ६५ वर्षे काली थारू शीतल महसुस गर्दै थिए । दुई दशकअघि उनको दैनिकी यस्तो थिएन । अझ असार/साउनमा उनलाई जमिनदारको खेती स्याहार्दैमा भ्याइनभ्याई हुन्थ्यो । वर्षभरि मरिमेटी काम गरेर ६ महिना खान नपुग्ने अन्नमै चित्त बुझाउनुपर्थ्यो ।

भोको पेटको मजबुरीमा आफू जमिनदारको घरमा १९ वर्ष कमैया बसेको उनले बताए । ‘अर्काको दास हुनु कसैलाई नपरोस्,’ उनले भने, ‘खाने बेला कुटेको अझै सम्झिन्छु ।’ जमिनदारले पिटेका उनका नीलडाम अहिले पुरिएका छन् । तर, भोकले रन्थनिएको बेला एक गाँस मुखमा नपर्दै पिटेर खेतमा काम गर्न लगाएको पीडा उनी कहिल्यै भुल्न सक्दैनन् ।
सरकारले दिएको जग्गामा छाप्रो बनाएर बस्दा नै उनी दंग छन् । ‘जे खान्छु, निर्धक्क भएर खान्छु, कसैको डर छैन,’ उनले भने । तर, १७ वर्षसम्म कमैया बसेको तीतो क्षण मानसपटलमा घुमिरहन्छ । कोहलपुर–११ मा लोकनगरमा ८ सय ३७ जना मुक्त कमैयालाई जग्गा दिइएको छ । ०६५ मा मुक्त कमैयाका नाममा जग्गा पाएपछि छाप्रो हालेर बस्दै आएका उनीहरूको दैनिकी मजदुरी गरेर बित्छ । लोकनगरमा बस्ने ७१ वर्षे दुलारी थारूले सरकारले दिएको जग्गामा दुई तलेघर बनाएकी छन् । ‘वर्षभरि कमैया बसेको ६ बोरा धान दिइन्थ्यो,’ टिटिरी गाउँमा कमलरी बस्दाको क्षण सम्झँदै उनले भनिन्, ‘मरीमरी काम गरेर भोकै बस्ने दिन थिए ती ।’ दुई छोरा विदेश गएपछि दुलारीले छाप्रो हटाएर पक्की घर बनाउन सकेकी हुन् । कोहलपुर–११ मा सरकारले जग्गा दिएकामध्ये अधिकांशका घर खाली छन् । झुप्रा बनाउँदै छाड्दै गरेका छन् । वडाले अनुगमन गर्दा झन्डै २५ प्रतिशत मात्रै मुक्तकमैया भेटिएको छ । १ सय ८० जना अरुकै जमिन भोगचलन गर्नेहरू छन् । वडा कार्यालयका कर्मचारी छविलाल भट्टराईले भने ‘धेरैले भित्रभित्रै नक्कली कागज बनाए घर बेचिसके ।’
िि
िकमैया मुक्तिको २० वर्षसम्म पनि उनीहरूको जीवनमा उल्लेख्य परिवर्तन आएको छैन । अधिकांश मुक्त कमैया परिवार अहिले पनि गाँस, बास र कपासको खोजीमै छन् । पश्चिम तराईमा जमिनदारको जग्गा अधियाँ या ऋण पाएबापत कमैया, कमलरी बस्नुपर्ने चलन थियो । मुक्ति घोषणापछि उचित पुनःस्थापना नहुँदा अहिले पनि त्यस्ता धेरै परिवार घरबासकै खोजीमा छन् ।
मुक्त कमैया समाज दाङका अनुसार जिल्लाका ४ हजार ८ सय ११ मुक्त कमैयामध्ये १ हजार ४ सय २६ जनाले मात्रै परिचययपत्र पाएका छन् । तीमध्ये पनि ७ सय ५ जनाले मात्रै जग्गाधनी पुर्जा पाएका छन् । १७ जनाले पुर्जा पाए पनि जग्गा पाउन नसकेको समाजका जिल्ला अध्यक्ष हरिशचन्द्र चौधरीले बताए । ‘८० जनाको जग्गा खोलामा परेको छ । कतिले लालपुर्जा पाएका छन्
तर खोज्दा कतै पनि जग्गा भेटिँदैन,’ उनले भने ।
राप्ती गाउँपालिका–६, बगरापुरमा ८६ घर मुक्त कमैया सरकारी जग्गामा जबर्जस्ती बसेका छन् । ‘पहिले जमिनदारको घरमा काम गर्नुपर्थ्यो । रातदिन काम गरे पनि खानलाउनबाहेक केही पाइँदैनथ्यो,’ बगरापुरकी ४० वर्षीया रामपति चौधरीले भनिन्, ‘जीवनभर अर्काको जमिन जोत्दा पनि आफ्नो भन्ने केही भएन । कमैया मुक्तिपछि पनि जग्गा पाइएन अनि खाली जमिनमा बसेका छौं ।’ सरकारले कमैया मुक्ति गरे पनि घरबासको व्यवस्था गरिदिन नसकेपछि सरकारी जग्गामा एक घरले एक कट्ठा बाँडेर बसोबास गरेको उनले बताइन् । राप्ती–२ मुक्तिनगर बस्तीमा पनि २ सय घर मुक्त कमैया छन् । त्यसमध्ये १ सय ३३ घर परिचयपत्र पाएकाहरू हुन् । अरु सूचीमा नाम नपरेका रहेको स्थानीय लोकमाया चौधरीले बताइन् । राप्ती–२ को बराखुटीमा पनि कमैया बस्ती छ । उक्त बस्तीमा पनि धेरै परिवार सामुदायिक वन अतिक्रमण गरेर बसेको मुक्त कमैया टेकबहादुर रावतले बताए ।
कमैया मुक्तिपछिका दिन झन् पीडादायी भएको लमही–८, सतबरियाकी चमेली चौधरीले बताइन् । ‘बस्दै आएको ठाउँबाट त मुक्ति पाइयो तर अहिले पनि जाने ठाउँ कतै छैन,’ उनले भनिन् । जग्गा नपाएपछि घोराही–१६ सानी अम्बापुरस्थित जिल्ला प्रशासन कार्यालयको जग्गामा पनि मुक्तकमैया बसेका छन् । एकसाथ १ सय २० परिवारले उक्त जग्गामा टहरा बनाएर बसेको मुक्त कमैया जंगबहादुर चौधरीले बताए । ०५० सालमा घोराहीको गैरागाउँबाट सुरु भएको आन्दोलन ०५७ मा सरकारले कमैया मुक्तिको घोषणा गरे पनि ०६३ सम्म चलेको थियो । मुक्ति आन्दोलन कम हुँदै गए पनि बसोबास र पुनःस्थापनाको आन्दोलन अहिलेसम्म गर्नुपरेको
उनले बताए ।

Page 2
समाचार

सार्वजनिक जग्गा छोरादेखि ज्वाइँसम्मलाई

अख्तियारले थाल्यो अनुसन्धान
- मधु शाही
बाँकेको कोहलपुर–४ को सार्वजनिक जग्गा, जसलाई टुक््रयाएर आयोगले ४१ जनालाई लालपुर्जा दिएको छ । तस्बिर ः मधु/कान्तिपुर

(बाँके) - सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्ती/ऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई पहुँचका भरमा जग्गा
वितरण गरिएको हो । आयोगले ०६९ फागुन २३ गते साविक रझेना–३ का कित्ता नम्बर ८२ देखि १९४ सम्म वितरण गरेको थियो ।
तीनतले घर भएका स्थानीय विष्णुकुमार अर्यालले छोरा, धर्मपुत्रतर्फकी बुहारी, ज्वाइँ र बहिनीज्वाइँसमेतका नाममा जग्गा दर्ता गराएको भेटिएको छ । दुईपटक गरेर आयोगले उनको परिवारलाई २१ कट्ठा जग्गाको लालपुर्जा दिएको छ । अर्यालले पहिलोपटक ०५२ सालमा राजमार्गबाट उत्तरपट्टिको कित्ता नम्बर ११८ रहेको १ कट्ठा जग्गा प्राप्त गरेका थिए । उक्त जग्गामा उनले घर बनाएका छन् । अर्याल र उनका परिवारका सदस्यले दोस्रोपटक राजमार्गभन्दा दक्षिणको जग्गा पाएका छन् ।
मालपोत कार्यालयको स्रेस्तामा उल्लेख भएअनुसार अर्यालका नाममा रहेको १३ नम्बर कित्तामा मात्रै ५ कट्ठा छ । उनका छोरा युद्धजंगका नाममा ५ कट्ठा छ । अर्यालकी धर्मपुत्र बुहारी विजया भट्टराईका नाममा ५ कट्ठा देखिन्छ । अर्यालका ज्वाइँ सन्तोष बीसीका नाममा २ कट्ठा र बहिनीज्वाइँ रामजी क्षत्रीका नाममा ३ कट्ठा जग्गा दर्ता रहेको मालपोतको स्रेस्तामा उल्लेख छ । १७ वर्षदेखि खनजोत गर्दै आएको र प्रहरीको जालमा परेर गुमाएको जमिन सर्वोच्चबाट जितेको हुनाले जग्गामाथि अधिकार लाग्नु स्वाभाविक भएको अर्यालले प्रतिक्रिया दिए । ‘आयोगले जग्गा दियो,’ अर्यालले कान्तिपुरसित भने, ‘मैले लिएँ, के भो त ?’
सुकुम्बासी समस्या समाधान समिति जिल्ला अध्यक्ष सन्तोष बस्नेतको नेतृत्वमा ०६९ सालमा जग्गा वितरण गरेको पाइएको हो । समितिले कार्यादेशविपरीत ‘गैरसुकुम्बासी’ लाई जग्गा वितरण गरेको पाइएपछि यहाँ विवाद सुरु भएको छ । मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएपछि विभिन्न जिल्लाबाट विस्थापित भएर आएका करिब डेढ सय परिवारको बसोबास साविक रझेना–३ मा थियो । शान्ति प्रक्रिया सुरु भएपछि त्यहाँ बसेका परिवारलाई सरकारले राहत प्रदान गरेर घर पठायो । त्यसपछि जग्गा खाली छ । स्थानीयका अनुसार ०२४ सालदेखि जग्गा खनजोत गर्दै आएका व्यक्तिले पनि उक्त जमिन खाली गरेका थिए । राजमार्गको उत्तर रहेको जग्गा सुकुम्बासी आयोगले २ सय २७ जनालाई वितरण गरिसकेको थियो ।

जग्गामा खिचातानी
राजमार्गको दक्षिणपट्टिको सार्वजनिक जग्गा ०६५ सालदेखि खाली छ । कसैले पनि खनजोत गरेका छैनन् । तर आयोगले वितरण गरेको लालपुर्जाका लागि उठाएको टिप्पणी आदेशमा १० वर्षदेखि भोगचलन, जोतभोग गर्दै आएका व्यक्ति भनी झूटो दाबी गरिएको छ । स्थानीय अब्दुल हुसैनको परिवार ०४४ सालदेखि त्यही सार्वजनिक जग्गामा बसेको थियो । हुसैनका अनुसार त्यहाँ ०२४ सालदेखि मान्छे बसोबास गरेर जग्गा भोगचलन गरेका थिए । ०४६ को जनआन्दोलनबाट सरकार परिवर्तन भएपछि स्थानीयले उक्त ठाउँ छाड्न थाले । ०४९ सालसम्म त्यहाँ ९ घरधुरी रहेको स्थानीय रामकृष्ण विकले बताए । जमिन खनजोत गरेर बस्नेमा रामकल, श्यामकला, श्यामदिन र भोकरी थारूसमेत रहेको उनको भनाइ छ । स्थानीयका अनुसार पहिलो जनआन्दोलनका बेला मालपोत कार्यालयबाट त्यहाँको ठूलो क्षेत्रफलको एकाएक कित्ताकाट गरेको देखिन्छ । त्यसबेला व्यक्तिका नाममा दिने भनेर कित्ताकाट गरिए पनि लालपुर्जा बनाउन नसकेको स्थानीयले बताए ।
त्यहाँको बस्ती ०४९ सालमा उठाइयो । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले कित्ता नम्बर ७६ देखि ७९ सम्मको जग्गा ०५२ फागुन २७ गते राजमार्ग गस्ती प्रहरी कार्यालय, प्रहरी महिला संघ, पेट्रोल पम्पलाई उपलब्ध गराउने निर्णय गरेको थियो । प्रहरीले जग्गा भोगचलन गरेन । त्यसपछि ०६९ सालमा जिल्ला सुकुम्बासी समस्या समाधान समितिले जग्गा उपलब्ध गराउने निर्णय बदर गर्‍यो । त्यसलाई सुकुम्बासी
समस्या समाधान आयोग, केन्द्रीय कार्यालयले अनुमोदन गरेको थियो ।
त्यसपछि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जग्गा आफूले पाउनुपर्ने भन्दै पुनरावेदन अदालत, नेपालगन्जमा मुद्दा दायर गरेको थियो । मुद्दा हारेपछि उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको देखिन्छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र रमा पराजुलीको संयुक्त इजलासले ०७७ जेठ २० गते सुकुम्बासी समस्या समाधान आयोगले गरेको निर्णय सही ठहर्‍याई मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको कानुनी रूपमा हकदाबी नपुग्ने भएकाले सो जग्गा नपाउने निर्णय सुनायो ।

गुपचुप टिप्पणी, हतारको सदर
आयोगको जिल्ला समितिको टिप्पणी आदेशमा ०६९ फागुन १६ गते २१ दिने हकदाबीसम्बन्धी सूचना प्रकाशित गरेको देखिन्छ । हकदाबीको २१ दिन नपुग्दै चैत ५ गते केन्द्रले त्यसलाई अनुमोदन गरेको छ । त्यस्तै, साविक गाउँ विकास समितिले निजको भोगचलन गरेको उल्लिखित कित्ताका जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा दिँदा फरक पर्ने छैन भनी प्रमाण सिफारिस गरेअनुसार अध्ययन गर्दा जग्गा दिन मुनासिव रहेको भन्दै तत्कालीन आयोग सदस्य भगवती अधिकारीले टिप्पणी आदेश दिएकी छन् । ‘त्यसबेला गाविस सक्रिय थिएन,’ जग्गा प्राप्त गरेका अर्यालले भने, ‘राजनीतिक दलकै सहमतिमा जग्गा पाएका हौं ।’
टिप्पणी आदेशमा सदस्य पूर्णप्रसाद अधिकारीले १० वर्षदेखि बसोबास गर्दै आएको, जोतभोग गर्दै गरेको आधारमा जग्गाधनी प्रमाण पुर्जा दिनु मनासिब भएको उल्लेख गरिए पनि कागजी प्रमाण केही भेटिँदैन । स्थानीय खिलप्रसाद भुसालका अनुसार ०६५ देखि त्यहाँको पूरै सार्वजनिक जग्गा खाली थियो ।
तत्कालीन सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति अध्यक्ष सन्तोष बस्नेतले वैधानिक तरिकाले वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गरेको दाबी गरेका छन् । त्यतिबेला स्थानीय निकायलाई फिल्डमा पठाएर पहिचान गर्न लगाइएको उनले बताए । तर, एउटै व्यक्तिले दुईपटक र उनकै सन्तान र नातेदारका नाममा समेत पुर्जा पाउनु भनेको आयोगको कार्यादेशविपरीत रहेको उनले बताए । ‘मैले कागज हेर्ने हो, व्यक्ति चिन्दिनँ,’ उनले भने, ‘यो गलत थियो भने केन्द्रले किन अनुमोदन गर्‍यो ?’ उनले पाउने व्यक्तिको अरू जग्गा छ भने जुनसुकै बेला जफत गर्न सक्ने अधिकार आयोगलाई रहेको बताए ।

विवादमा पत्रकार पनि
लालपुर्जा लिएका ४१ जनामध्ये ४ जना सञ्चारकर्मी छन् । मालपोत कार्यालयका अनुसार पत्रकार महासंघका शाखा उपाध्यक्ष प्रदीप वाग्लेका नाममा १० धुर छ । महासंघका पूर्वउपाध्यक्ष सुशीलकुमार लामिछानेका नाममा १० धुर छ । महासंघका साधारण सदस्य चेतकान्त भट्टराईका नाममा १० धुर र शिव सुनारकी पत्नी सीताका नाममा ३ कट्ठा जग्गा छ । शिव सुनार सांसद महेश्वर गहतराजका स्वकीय सचिव पनि हुन् । पत्रकार महासंघका उपाध्यक्ष वाग्लेकी आमाका नाममा १० धुर जग्गा छ । सुकुम्बासी आयोगको सूचना निकालेका बेला फारम भरेकाले नियमसंगत रूपमा जग्गा पाएको वाग्लेले बताए । आफ्नो नाममा अन्यत्र एक टुक्रा जमिन पनि नभएको उनले दाबी गरे । ‘आमाका नाममा जमिन छ,’ उनले भने, ‘आयोगले सूचना निकाल्यो, त्यतिबेला भूमिहीन थिएँ, फारम भरेको मात्रै हुँ । अरू केही थाहा छैन ।’
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जग्गा विवादमा मुछिएका ४१ जनामध्ये अधिकांश गैरसुकुम्बासी रहेको बताए । ‘आयोगले मनोमानी ढंगमा प्रक्रिया नपुर्‍याई लालपुर्जा दिनु र मालपोतले वडालाई कर तिर्न पत्र पठाउनु, फेरि सच्याउनुजस्ता गतिविधिले बदनियत देखिन्छ,’ उनले भने । सुकुम्बासी समस्या समाधान समितिका तत्कालीन जिल्ला अध्यक्ष बस्नेतको ‘डन प्रवृत्ति’ ले सार्वजनिक जग्गा गैरसुकुम्बासीलाई वितरण गरेको प्रस्ट भएको उनले बताए । ‘दोषीलाई कारबाही गरेरै छाड्छौं,’ उनले भने ।
कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले जग्गा प्राप्त गर्ने व्यक्ति सुकुम्बासी हुन् कि होइनन् भनेर पहिचान गर्नुपर्ने बताए । ‘मालपोतले पत्र काटेपछि मात्र विवाद थाहा पाएँ,’ उनले भने, ‘कतिपय सुकुम्बासी भनिएकालाई म चिन्दिनँ, खोजीकै विषय छ ।’ जग्गा विवाद सार्वजनिक भएपछि त्यहाँ कोहलपुर ४ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।
जग्गा विवादका विषयमा कागजात मगाएर प्रारम्भिक अनुसन्धान सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेका प्रमुख गणेश गैरेले जानकारी दिए ।

 

Page 3
समाचार

बैठककै गोलचक्कर

- बिनु सुवेदी

(काठमाडौं) - पहिरोले बिल्लीबाठ पारेको साता दिनपछि बिहीबार बल्ल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ म्याग्दीको पश्चिम क्षेत्र पुगेका थिए । तर गुरुङ पहिरो प्रभावित क्षेत्रमा लामो समय बस्न सकेनन् । आफ्नो पीडा प्रदेश सरकारका मुख्यमन्त्रीलाई सुनाउँला भनेर पर्खिबसेका पीडितले टाढैबाट उनको अनुहार हेर्न मात्र पाए । शुक्रबार बिहान ११ बजे सुरु हुने भनिएको नेकपा स्थायी कमिटी बैठकका लागि उनलाई जतिसक्दो छिटो काठमाडौं उत्रिनुपर्ने थियो । उनी जुन हतारोसहित म्याग्दी गएका थिए, त्योभन्दा बेसी असिनपसिन गर्दै काठमाडौं हानिए ।
स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएयता सातपटकसम्म स्थगित भयो, मुख्यमन्त्री गुरुङले पोखरा–काठमाडौं ८ पटक आउजाउ गरे । ‘बैठक हुने भयो भनेर बोलाउँछन्, भइहाल्छ कि भनेर आउनुपर्‍यो, कुरा मिल्या छैन सर्‍यो भन्छन् । प्रदेशका काम भ्याउनुपर्छ भनेर फेरि फर्केर जानुपर्‍यो, काम गरिसकेको हुन्न फेरि बैठक बस्ने भो भन्छन्,’ गुरुङले कान्तिपुरसँग भने, ‘ओहोरदोहोर अलि धेरै भइरहेको छ, जनताको काम नि गर्नैपर्‍यो, पार्टीको समस्या नि मिलाउनैपर्‍यो ।’
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल असार ९ गते राति काठमाडौं उत्रिएयता गृह जिल्ला सप्तरी फर्किएका छैनन् । यो बीचमा उनको निर्वाचन क्षेत्र सप्तरीमा बाढीले बबन्डर मच्चायो, तर उनी मतदातालाई मल्हमपट्टी लगाउन जिल्ला जानै पाएनन् । ‘लगभग एक महिनादेखि म काठमाडौंमा छु, यो बर्खामा जान–आउन जोखिम छ । उता खेती भएको छैन, रोपाइँ गर्न जाँदा सर्पले टोकेपछि श्रीमती अस्पतालमा छिन्,’ मण्डलले भने, ‘यता बैठक भनेर अल्झिनुपरेको छ, उता जनताको बर्बाद भइरहेको छ, यो त अति भयो नि π’ उनले छलफलका
लागि तय गरिएको एजेन्डाबाहिर गएर नेकपाले लय
छाडेको बताए ।
कोरोना कहरकै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि लकडाउनका लागि स्थगित नेकपाका बैठकहरू बस्ने सिलसिला फेरि सुरु भयो । तर नेकपा ‘निरर्थक’ बैठकको गोलचक्करमा फसिरह्यो । स्थायी कमिटी सदस्यहरूले वैशाख १० मा बैठकको माग गर्दै अध्यक्षद्वयलाई चिठी पठाएको दुई महिनापछि असार १० देखि नेकपाले बैठक आह्वान गर्‍यो । अध्यादेश प्रकरणमा प्रधानमन्त्री ओलीले वैशाख २० को सचिवालय बैठकमा आत्मालोचना गरेका कारण उक्त विषय तत्कालका लागि सामसुम भएको थियो । तर २५ गतेका लागि भनेर डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसैको निरन्तरतास्वरूप स्थायी कमिटी बैठक सुरु भएको हो । तय गरिएका सात एजेन्डामध्ये लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालले नक्सा जारी गरेको विषयमा छलफल जारी थियो । ४४ मध्ये ६ स्थायी कमिटी सदस्य उक्त विषयमा बोल्नै बाँकी थियो । असार १४ गते मदन भण्डारीको जन्मजयन्तीमा बालुवाटारमै आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि आफूलाई सत्ताबाट हटाउन भारत लागेको र नेकपाकै नेताहरूले साथ दिइरहेको आशयको अभिव्यक्ति दिए । जसका कारण १६ गतेदेखि नेकपा स्थायी कमिटीको बैठक एजेन्डाबाहिर गयो, नेताहरू बरालिए ।
स्थायी कमिटी बैठक सुरु हुनुअघि नै गुट/उपगुटका भेला नभएका होइनन्, बैठकपछि यो झन् धेरै मौलायो । अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि दाहाल–नेपाल समूहका नेताहरूले उनकै शैली र अभिव्यक्ति पछ्याए, यो समूह आक्रामक र ओली समूह रक्षात्मक बन्दै गयो । कतिसम्म भने बैठकमा सबै सचिवालय सदस्यहरूले मत राखेका दिन ओली समूहका ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल चुपचाप बसे । त्यतिखेरसम्म कुन गुटमा लाग्ने भनेर स्पष्ट भइनसकेका रामबहादुर थापा पनि मौन रहे । १७ गतेयताका १६ दिनमा स्थायी कमिटी बैठक सातपटकसम्म स्थगित भयो, विवाद मिलाउन भनेर जुटेका अध्यक्षद्वय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठक कक्षमा १० पटकसम्म सँगसँगै घण्टौंघण्टा घोत्लिए तर दुवै अध्यक्ष टसमस भएनन् ।
जनता र जनजीविकाको कुरा गरेर नथाक्ने नेकपा चुनावमा करिब दुई तिहाइ सिट जितेर सबैभन्दा ठूलो राजनीतिक दल बनेको हो । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण गरेर नेकपा बनाउँदा तयार पारिएको राजनीतिक दस्तावेजमा सबैभन्दा धेरै प्रयोग गरेको शब्द नै ‘जनता’ हो । कम्युनिस्ट पार्टीले आफूलाई हमेसा जनताको सेवकका रूपमा प्रस्तुत गर्नुपर्छ, जनताको अपेक्षा र आकांक्षामा आफूलाई निरन्तर खरो उतार्नुपर्छ भन्ने नेकपाको राजनीतिक दस्तावेजको नारा छ, ‘सरकार जनताका लागि, जनता देशका लागि ।’ तर यो बीचमा नेकपा र उसको नेतृत्वको सरकारका अधिकांश मन्त्रीको ध्यान पार्टीको आन्तरिक विवाद मिलाउने विषयमै
केन्द्रित रह्यो ।
पहिले दिन बिराएर र कहिलेकाहीँ त दिनदिनैजसो बस्ने सीसीएमसी निर्देशक समितिको बैठक एकपटक मात्रै बस्न सक्यो किनभने सीसीएमसीका अधिकांश सदस्य मन्त्रीहरू नेकपा स्थायी कमिटी सदस्य हुन् । पार्टीभित्रको शक्ति सन्तुलनमा ओली, दाहाल र माधव नेपाल तीनै समूहमा रहेका यी मन्त्रीहरूलाई अहिले पार्टीको आन्तरिक विवाद समाधानका लागि दौडधुपले फुर्सदै छैन । बरु यो बीचमा बालुवाटार, खुमलटार र कोटेश्वरमा दर्जनौं बैठक भए, गुट/उपगुटमा आबद्ध नेताहरूलाई कहिले यता र कहिले उताको बैठकमा गोलचक्कर लगाउँदैमा फुर्सद भएन । विश्लेषक खगेन्द्र प्रसाईंको बुझाइमा कुनै पनि मन्त्रीहरू गुटबाट निरपेक्ष नरहेकाले उनीहरू सरकार र जनताभन्दा आफ्नै गुट जोगाउने दौडधुपमा व्यस्त हुनु जनताका
लागि अनपेक्षित भए पनि स्वयं नेताहरूका लागि अस्वाभाविक होइन ।
कोरोना र सलहको मार त छँदै थियो, असार दोस्रो सातादेखि देशव्यापी बाढीपहिरोको समस्या थपियो । प्रधानमन्त्री ओलीले असार २६ गते सम्बोधन गर्दै बाढीपहिरो प्रभावित नागरिकको सुरक्षाका लागि आवश्यक पर्ने प्रबन्ध सरकारले मिलाउने बताए । अर्का अध्यक्ष दाहाल तथा वरिष्ठ नेताहरूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उद्धारमा लाग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिए । तर नेकपाले बाढीपहिरोबाट परेको असर र उद्धारका विषयमा एउटा विज्ञप्तिसम्म निकालेन । जारी स्थायी कमिटी बैठक र नेताहरूका कोठे छलफलमा कोभिड–१९ को असर, बाढीपहिरोले पुर्‍याएको क्षतिको उद्धार र राहतबारे छलफल हुनु त परै जाओस्, कुरासम्म पनि उठेको छैन । बरु गुट/गुटमा बाँडिएका यो पार्टीका एक थरी युवा नेताले ओली सरकार बचाउनुपर्ने माग गर्दै सडकमा र अर्काथरीले सरकारले काम गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा नाराबाजी लगाए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ भने पार्टी जनतासँग नै रहेको जिकिर गर्दै पछिल्लो साता बाढीपहिरोकै कारण बैठक स्थगित गरिएको बताउँछन् । ‘स्थायी कमिटी बैठकका लागि कोभिड–१९ को असर र नियन्त्रणमा सरकारले गरेको कामबारे छलफल गर्ने त एजेन्डा नै छ, बाढीपहिरोले क्षति पुर्‍याएपछि त्यसैतर्फ जुट्न स्थायी कमिटी बैठक अघिल्लोपटक स्थगन गरिएको पनि हो,’ उनले कान्तिपुरसँग भने, ‘बैठक छिटो सक्न पाए हुन्थ्यो भन्ने हो, कहिलेकाहीँ परिस्थितिले यस्तो बनाउँछ ।’
अध्यक्षद्वय र वरिष्ठ नेता नेपालबीच बिहीबार दिउँसो भएको छलफलमा शुक्रबार स्थायी कमिटी बैठक डाक्ने र केन्द्रीय कमिटी बैठकको मिति तोकेर स्थगन गर्ने सहमति जुटेको थियो । त्यही ब्रिफिङ तीनै नेताले आ–आफ्नो गुटमा गरेका पनि थिए । तर बिहीबार राति अबेरसम्म बसेको ओलीपक्षीय नेताहरूको बैठकपछि अघिल्लो दिनको सहमतिअनुसार अघि बढ्न नसकिने जवाफ शुक्रबार अर्का अध्यक्ष दाहाललाई ओलीले दिएका छन् । अहिले सबै एजेन्डा फ्याट्टै केन्द्रीय कमिटीमा लैजाँदा नेताहरूबीच कुटाकुट हुने स्थिति आउन सक्ने भन्दै कतिपय विषय सचिवालय र कतिपय स्थायी कमिटीले नै सल्टाउनुपर्ने राय ओलीपक्षीय नेताहरूको थियो । त्यसैले शुक्रबार बिहान ११ बजेका लागि तय भएको बैठक सुरुमा ३ बजेसम्म र पछि आइतबारसम्मका लागि स्थगित भयो ।
अध्यक्षद्वयले शनिबार सचिवालय बैठक डाकेका छन् । त्यहाँ बैठकका एजेन्डा हेरेर कुन विषयलाई कुन कमिटीमा छिनोफानो गर्ने भन्नेबारे छलफल हुन सक्ने नेताहरूको भनाइ छ । नेकपाले आफैंले सिर्जना गरेको शक्ति सन्तुलनको विषय मिलाउन नसक्दा विवादले कमिटीहरूमा गोलचक्कर मारिरहेको उदाहरण यसअघि पनि थुप्रै थिए । तर यसपालि उनीहरूकै मतदाता र कार्यकर्तासमेत कोरोना, सलह, लकडाउन र बाढीपहिरोको समस्यामा परिरहेका बेला काठमाडौंमा भइरहेका बैठकहरू र ती बैठकका एजेन्डाचाहिँ उदेकलाग्दा देखिन्छन् । विश्लेषक प्रसाईं पार्टी र सरकार लोकतान्त्रिक नभएकैले यो खालको संकट देखिएको बताउँछन् । ‘अहिले देशभर देखिएको संकटमा पार्टीको ठूलो पंक्ति परिचालन गर्ने शक्ति सरकार र नेकपासँग छ,’ प्रसाईंले भने, ‘तर नेतृत्वमा देखिएको अन्तरद्वन्द्व र काम गर्न नसकिरहेका कमिटीहरूका कारण पार्टी निर्जीवजस्तै छ,’ उनले भने ।

 

समाचार

सीमामा संरचना नबनाउन भारतलाई ‘कूटनीतिक पत्र’

- मातृका दाहाल,जगदीश्वर पाण्डे
रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल–भारत दशगजा क्षेत्रमा भारतले माटो थपेर उचाइ बढाएको बाँध । फाइल तस्बिर ः कान्तिपुर

(काठमाडौं) - सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ । नेपालबाट दक्षिणतर्फ बग्ने नदी तथा खोलाको प्राकृतिक बहाव रोकिने गरी भारतले बाँध, तटबन्ध, सडकलगायत संरचना निर्माण गरेको भन्दै परराष्ट्र मन्त्रालयले दुई देशबीच भएका सहमति र सम्झौताको स्मरण गराएर पत्र पठाएको हो ।
सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठले भारतीय क्षेत्रमा बनेका संरचनाले नेपाली भूभागमा बाढी र डुबान भएको बारे मन्त्रालयले प्राविधिक अध्ययन गरेर भारतीय पक्षसमक्ष जानकारी गराउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पत्र लेखेर पठाएको कान्तिपुरलाई जानकारी दिए । उनले ऊर्जामन्त्री वर्षमान पुनको निर्देशनअनुसार तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्ने पनि बताए । समस्या समाधानबारे भारतीय पक्षसँग अनौपचारिक तहमा कुराकानी भइरहेको उनले जानकारी दिए । नियमित कार्यतालिकाअनुसार बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक नोभेम्बर महिनामा बस्ने गरेको छ । यो वर्ष भने भारतीय पक्षलाई नियमित समयभन्दा अगाडि नै बैठक बस्न भन्ने उनले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले अन्य मन्त्रालयबाट आउने पत्रहरूलाई कूटनीतिक नोटमार्फत सम्बन्धित मुलुकलाई पठाउने काम नियमित भएको बताए । ‘डुबान–बाढीलगायत विषयहरूमा नियमित रूपमा कूटनीतिक नोट पठाउने काम हुन्छ । आवश्यक पर्दा नेपाल र भारत दुवैले कूटनीतिक नोट आदानप्रदान गर्छन् । नेपालले भारतलाई कूटनीतिक नोट पठाउनु नयाँ कुरा होइन,’ उनले भने ।
सीमा क्षेत्रमा बनाइएका बाँध तथा तटबन्धको उचाइ थपेर भारतले पानीको बहाव नेपालतर्फै फर्काएको तथा नदीका दुवै किनारा हुँदै तटबन्ध बनाएर प्राकृतिक बहावमा बग्न दिने सहमतिविपरीत काम गरेको कूटनीतिक नोटमा उल्लेख गरिएको स्रोतले बताएको छ । त्यस्तै कोसी र गण्डकलगायत ठूला नदीमा बनाइएका ब्यारेजको ढोका पानीको सतह बढ्दा बीचबाट खोल्नुपर्नेमा त्यसको पालना नगरिएको, नदीमा आएको बाढीले तटीय क्षेत्रमा नेपालतर्फ ३२.३ हेक्टर र भारततर्फ १६ हेक्टरसम्म डुबान हुँदासम्म कुनै प्रतिक्रिया दिन नपाइने समझदारी भएको तर भारतीयका कारण
नेपालतर्फ एउटा नदीको बहाव अवरुद्ध हुँदा दुई सय हेक्टरसम्म बाली र बस्तीमा क्षति पुर्‍याउने गरेकामा ध्यानाकर्षण गराइएको छ ।
नदी तथा खोलाको बहाव व्यवस्थापन गर्न नेपालले १ हजार ८ किलोमिटर लम्बाइको बाँध र तटबन्ध बनाए पनि भारतले मुआब्जा समस्या समाधान नभएको कारण देखाएर आफ्नोतर्फ नदी व्यवस्थापनमा काम नगरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी नियन्त्रण शाखा प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर विष्णुदेव यादवले बताए । ‘नेपालतर्फ पानीको बहाव र नदीको धार सबै ठीक छ, भारतीय सीमामा पुग्नेबित्तिकै अवरुद्ध हुन्छ, यसको मूल कारण भारतीय अनधिकृत संरचना निर्माण हो,’ उनले कान्तिपुरसँग भने, ‘दुई देशबीच भएका सहमति र सम्झौता अक्षरशः पालना नहुँदा भारतीय संरचनाबाट सिर्जित समस्या हामीले झेल्नुपरेको छ ।’
बाढीपहिरो, डुबान, कटान र पटानका कारण हुने जनधनको क्षति रोकथाम र न्यूनीकरण गर्न गृह मन्त्रालय, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विज्ञान विभाग र सिँचाइ तथा जलस्रोत विभागले यस वर्षदेखि संयुक्त संयन्त्र बनाएर काम गरिरहेका छन् ।
पछिल्लो पटक भारतीय अनधिकृत बाँधको असर र त्यसले पुर्‍याएको क्षतिबारे अध्ययन गरेर सिँचाइ विभागले प्रकोप रोकथाम तथा नियन्त्रणका लागि गृहमा प्रतिकार्य योजना पेस गरेको थियो । पछिल्लो मनसुन र त्यसपछिको अविरल वर्षापछि भारतले नदी, खोला र मौसमी बाढीको प्राकृतिक बहाव थुन्दा कपिलवस्तु, रौतहट, सप्तरीलगायत जिल्लाका सीमावर्ती क्षेत्र डुबानमा परेका छन् । उनका अनुसार प्रदेश २ अन्तर्गतका खाँडो, गागन, कमला, रातु, प्रदेश ५ का महलीसागर (कपिलवस्तु) र कलकल्वा (बाँके) मा भारतले अनधिकृत संरचना बनाउँदा वारिपट्टि नेपाली भूभाग डुबानमा पर्दै
आएको छ ।
भारतले गैरकानुनी रूपमा संरचना निर्माण मात्रै होइन, ती संरचनाको उचाइ बढाउन फलामे ढाला र फल्याक राखेर पानीको बहाव नेपालतर्फ फर्काउँदा कपिलवस्तुको महलीसागर बाँधनजिकैको बस्ती र खेतीयोग्य जमिन डुबानमा परेको छ । महलीसागर क्षेत्रमा मात्रै डुबानबाट हरेक वर्ष १ करोडजतिको अन्नबाली नष्ट हुने गरेको सिँचाइ मन्त्रालयका वरिष्ठ इन्जिनियर यादवले बताए । दक्षिणतर्फ भारतले नदीको बहाव थुन्ने गरी २८ स्थानमा ठूला बाँध र तटबन्ध बनाउँदा बर्सेनि त्यसको असर नेपाली भूभागमा पर्छ । नेपालमा करिब ६ हजार नदी तथा खोला र खोल्सा रहेकामा भारतसँग मात्रै ६० वटा नदी र खोलाले सीमाको क्षेत्र छुट्याउँछ । यी क्षेत्रबाट बग्ने नदी र खोलाको बहाव थुन्न उसले एकतर्फी संरचना बनाएको छ ।
भारतीय पक्षले अनधिकृत संरचना बनाउँदा सबैभन्दा बढी प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका सीमावर्ती भूभाग डुबानमा पर्दै आएका छन् । यस वर्ष मनसुन सुरु भएपछि डुबानबाट दुई जनाको मृत्यु भएको छ । बाढीमा ३ जना बेपत्ता, १ घाइते र ८५ घर विस्थापित भएका छन् । अहिलेसम्म पहिरोको जोखिम रहेको र अब बिस्तारै तराईमा बाढी, डुबान र कटानको जोखिम बढ्न सक्ने प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताए । जेठ ३० देखि असार २७ सम्मको तथ्यांकअनुसार विपत्मा परी १ सय १ जनाले ज्यान गुमाइसकेका छन् । चार सय १८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
यसअघि गृहमन्त्री रामबहादुर थापाले असार २९ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सीमासँग समानान्तर सडकलगायत संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताएका थिए । उनले पटक–पटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको बताएका थिए । उनले भनेका थिए, ‘नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दा हाम्रोमा डुबान भयो । सीमामा समानान्तर रूपमा भारतले सडक बनाएकाले तराई क्षेत्रमा डुबान हुने गरेको छ । त्यो नेपालमाथि हस्तक्षेप नै हो ।’
सीमावर्ती क्षेत्रसहित देशभर मनसुनको प्रकोप बढ्दै जाँदा सम्बन्धित तीन मन्त्रालय गृह, परराष्ट्र र ऊर्जाले एकीकृत रूपमा काम गरेका छैनन् । पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्यायले बाढी र डुबान नियन्त्रणमा भारतले सधैं असहयोग मात्र गरेको अरोप लगाए । ‘यससम्बन्धमा २० वर्षभन्दा पहिलेदेखि ५० औं पटकभन्दा बढी प्रधानमन्त्रीस्तरदेखि सहसचिवस्तरसम्म द्विपक्षीय सहमति भए तर भारतले त्यसको कार्यान्वयन गरेको छैन,’ उनले भने, ‘सबै कुरा मान्छु भन्छ तर कार्यान्वयन गर्दैन ।’
कांग्रेस नेतासमेत रहेका भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपालको सहमतिबिना एकतर्फी संरचना बनाएर भारतले पानीको बहावलाई रोक्न नमिल्ने बताए । ‘अन्तर्राष्ट्रिय सन्धि/सम्झौता, मापदण्ड र दुई मुलुकबीचका सहमतिलाई उल्लंघन गरेर सीमावर्ती क्षेत्रमा भारतले कुनै पनि संरचना बनाउन मिल्दैन,’ उनले कान्तिपुरसँग भने, ‘मुलुकको सार्वभौमिकता भन्ने कुरा यस्ता–यस्ता विषयसँग जोडिन्छ, नेपाल सार्वभौम मुलुक हो, नेपालको सहमतिबिना भारतले सीमावर्ती क्षेत्रमा कुनै पनि भौतिक संरचना बनाउन पाउँदैन ।’

 

समाचार

'भारतसँग वार्ता गर्नुहोस्'

- कान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सीमा क्षेत्रमा बनाइएका बाँधका कारण नेपाली भूमि डुबानमा परेकाले भारतसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न शुक्रबार मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मन्त्री पुनले सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठ, विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी, उपमहानिर्देशक प्रदीप थापालगायतलाई डाकेर बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी लिँदै भारतसँग आवश्यक वार्ताका लागि पहल गर्न आग्रह गरेका हुन् । मन्त्री पुनका प्रेसविज्ञ दयानिधि भट्टका अनुसार सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न मन्त्रीले निर्देशन दिएका हुन् ।
‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ । समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआईएफएमको बैठक डाक्नुस्,’ पुनलाई उद्धृत गर्दै भट्टले कान्तिपुरसँग भने ।

Page 4
समाचार

'समुदायमा संक्रमण फैलिएको छैन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । मन्त्रालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न तथ्यबाट समुदायमा संक्रमण फैलिएको नदेखिएको दाबी गरे ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षणका क्रममा भीडभाड हुने विभिन्न स्थानमा ४ हजार ८ सय नमुना परीक्षण गरिएको थियो । जसमा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना विदेशबाट आएका हुन् भने एक जना ब्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको छ । मानिसको बढी भीडभाड हुने स्थान र कार्यालयबाट स्वाब संकलन गरिएको थियो । ‘काठमाडौंलगायतका ठूला सहरमा संक्रमणको जोखिम
बढ्दै गएको छ र संक्रमितको संख्या घटे पनि जोखिम घटेको छैन,’ डा. गौतमले भने ।
थप एकको मृत्यु
राजविराज– सप्तरीमा बिहीबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटुका रोगी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । मुटुमा समस्या भएपछि गत असार ३० मा उनलाई उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
क्वारेन्टाइनमा युवक मृत फेला
लमजुङ– क्वारेन्टाइनमा बसेको दुई दिनपछि क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका २३ वर्षीय एक युवक मृत फेला परेका छन् । शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
युवक असार ३१ मा क्व्होलासोंथर–९ गिलुङको बुद्धोदय मावि क्वारेन्टाइनमा बसेका थिए । डीएसपी गंगाबहादुर थापाले प्रारम्भिक अनुसन्धानमा डोरीको पासो लगाएर झुन्डिएको देखिएको र अनुसन्धानपछि कारण खुल्ने उनले बताए ।

 

समाचार

पहिरोमा परिवारका ३ को मृत्यु

- प्रतीक्षा काफ्ले
पहिरोले क्षति पुर्‍याएको कास्कीको माछापुच्छ्रे–८ स्थित प्रेमराज विकको घर । तस्बिर सौजन्य ः टीका गौतम

(गण्डकी) - साउने संक्रान्तिको दिन । पर्वको खुसियाली भएकाले साँझ फुरौला र सेलरोटी पकाए, परिवारका सबैले खाए । त्यसपछि किशोरीहरू हातमा मेहन्दी लगाउन व्यस्त भए । पारिवारिक माहोलमा रमाइलोसँग संक्रान्ति मनाएर बाँडेको खुसी धेरैबेर टिक्न पाएन । शुक्रबार बिहान साढे ५ बजेतिर खसेको पहिरोले कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुखका प्रेमराज विकका तीन नातिनातिनालाई पुर्‍यो ।
मृत्यु हुनेमा प्रेमराजका नातिद्वय १६ वर्षीय कुशल र १४ वर्षीय समीर तथा १६ वर्षीया नातिनी रोजिना छन् । उनीहरू बिहीबार राति ९ बजेसम्म हजुरबुबा–हजुरआमासँगै खेलिरहेका थिए । ‘राति ९ बजे हामी दुवै सुत्न गयौं । नातिनातिना भने रमाइलो गर्दै छुट्टै कोठामा बसिरहेका थिए । राति कतिबेला सुते पत्तो भएन,’ प्रेमराजले भने । बिहान ठूलो आवाज आएको सुनेपछि कहाँ के भयो भन्दै प्रेमराजले घरमाथि हेरे । पहिरो गएको देखेपछि नातिनातिना सुतेको कोठातर्फ गए । तर त्यहाँ कोठा नै देखेनन् । घरमाथिको सडकबाट खसेको पहिरोले कोठा पुरिसकेको थियो ।
त्यस दिन विक परिवारमा ५ जना मात्रै थिए । प्रेमराजकी कान्छी बुहारी सानो छोरासहित संक्रान्ति मनाउन माइत गएकी थिइन् । वडाध्यक्ष कृष्ण दवाडीका अनुसार रोजिना प्रेमराजका जेठा छोराकी छोरी हुन् । उनी आमासँगै लामाचौर आफ्नै घरमा बस्दै आएकी थिइन् । लकडाउनका कारण स्कुल बिदा भएपछि उनी हजुरबुबा–हजुरआमासँग बस्न त्यहाँ गएकी थिइन् । हेम्जा घर भएका माइलो छोराका छोरा कुशल पनि बिदामा खोरको मुख पुगेका थिए । उनका बाबु भने विदेश छन् । अर्का मृतक समीर कान्छा छोराका छोरा हुन् । उनका बुबा ७ वर्षदेखि बेपत्ता छन् । उनी आमा र हजुरबुबा–हजुरआमासँग गाउँकै घरमा बस्दै आएका थिए ।
‘मृत्यु भएका बालबालिकाको काजकिरिया बजारमै गर्ने भन्दै परिवारै गएका छन् । मृतकका आमाहरू अचेत छन् । हजुरबुबा–हजुरआमाको अवस्था पनि उस्तै छ,’ वडाध्यक्ष दवाडीले भने । एकै घरका तीन किशोरकिशोरीको मृत्युपछि अहिले सिंगो गाउँ शोकमा छ । ‘हामी डाँडामाथिका घाम हौं, बरु हामी ठूलालाई लगिदिएको भए हुने थियो । दैव पनि केटाकेटीमाथि नै लाग्यो,’ प्रेमराजले भने । घरमाथि सडक खनेकाले यस्तो विपत् आइपरेको उनको भनाइ छ । वडाध्यक्ष दवाडीका अनुसार उक्त सडक तीन वर्षअघि
खनिएको थियो ।
८ परिवारका ४९ जना विस्थापित
पहिरोका कारण गाउँका ८ परिवारका ४९ जना विस्थापित भएका छन् । रविलाल विक, डिलबहादुर विक, चित्रबहादुर विक, नारायण विक, जसबहादुर विक, आइबहादुर विक, डिलबहादुर विक र प्रेमराज विकको परिवार विस्थापित भएको हो । उनीहरूमध्ये दुई परिवार सामुदायिक भवनमा र अन्य आफन्तकामा बसेका छन् ।

 

समाचार

३४ अझै भेटिएनन्

- प्रदेश ब्युरो

(काठमाडौं) - संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो छैन । लगातार खोजी गर्दा पनि उनीहरू नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।
खोजीमा सेना, प्रहरी र सशस्त्र प्रहरी गरी ६० जना सुरक्षाकर्मी र स्थानीय खटिइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए । पहिरोले बेसिन्दा गाउँको जमिन चिराचिरा परेको छ । बेसिन्दाबाट मात्रै ७३ परिवार विस्थापित भएका छन् । ३ सय ४९ जनालाई अस्थायी रूपमा चित्रेको शेर्पा बस्तीमा लगिएको थियो । चित्रेमा पनि जोखिम बढेपछि ७३ परिवारमध्ये २७ परिवारका १ सय १० जनालाई शुक्रबार बुधबारे सरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।
पहिरोका कारण बेसिन्दाका ९ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । पहिरोमा ६५ वर्षीया गोरीमाया राई र उनकी २२ वर्षीया छोरी प्रकृति तथा राममान राई, उनकी श्रीमती हस्तकुमारी, छोरीहरू एन्जिला र नम्रता हराइरहेका छन् । यस्तै, जुद्धबहादुर माने (राई), उनकी श्रीमती उत्तरकुमारी तथा नजमाया, हर्कराज र आइतमाया राई पनि बेपत्ता छन् ।
बाढीपहिरो र दुर्घटनाबाट १० दिनयता सिन्धुपाल्चोकमा बेपत्ता भएका २३ जना अझै भेटिएका छैनन् । अघिल्लो बुधबार रातिकोबाढीपहिरोले बाह्रबिसेको जम्बुका १७, भोटेकोसी–५ बुल्कुर्टेका ३ र गत बुधबार घर पुरिँदा भोटेकोसी–४ फुल्पिङकट्टीका २ जना हराइरहेका छन् । गत मंगलबार मेलम्ची खानेपानी आयोजनाको अडिट गेट फुट्दा आएको बाढीले मुहानस्थलबाटै बेपत्ता बनेका एक जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, बुधबार रातिको पहिरोमा पुरिएर बेपत्ता भोटेकोसी–४ फुल्पिङकट्टीका एकै परिवारका ५ जनामध्ये शुक्रबार १४ वर्षकी छिरिङवाङ्गु शेर्पाको शव फेला परेको छ । दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङ्मु शेर्पा र १६ वर्षकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो । ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा अझै बेपत्ता छन् ।

समाचार

आइतबारदेखि ४ दिन भारी वर्षा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि बुधबारसम्म देशैभर मध्यमदेखि भारी वर्षा हुने भएकाले सतर्क हुन आग्रह गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सचेत हुन सर्वसाधारणलाई अपिल गरेको छ ।
जेठ ३० मा मनसुन सुरु भएदेखि शुक्रबारसम्म बाढीपहिरोका ३ सय १३ वटा घटना भएका छन्, जसमा परेर १ सय ८ जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । प्राधिकरणले साउन दोस्रो र तेस्रो साता विपद्का घटनामा वृद्धि हुने आकलन गरेको छ । विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले मनसुन न्यून चापीय रेखा तराई क्षेत्रको नजिक आउने भएकाले लगातार चार दिनसम्म नेपालभर मनसुन सक्रिय हुने उल्लेख गरेकी छन् । मनसुन सक्रिय भएर वर्षा हुँदा मध्यपहाडी क्षेत्र, चुरे तथा तराईमा बहने स–साना नदीनालाहरूमा साउन ९ सम्मै आकस्मिक बहाव हुनेसमेत मौसमविद्हरूको आकलन छ ।
विभागले टोलफ्री नम्बर ११५५ समेत सञ्चालनमा ल्याएको छ । बाढीको सम्भावना भएका नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई बाढी आउनपूर्व नै मोबाइलमा सन्देशसमेत पठाउने तयारी छ । विगतमा यस्तो सन्देशले सम्भावित क्षति रोक्न सहयोग गरेको विभागको भनाइ छ ।

 

Page 5
विविधा

कालीगण्डकीको आत्मकथा

- हरि अधिकारी

 

म हाम्रो देश नेपालका ३ वटा मुख्य नदी–प्रणालीमध्ये एक हुँ । मेरो नाम गण्डकी हो । नेपालको पूर्वी भूभागको नदी–प्रणाली सप्तकोसीका नामले प्रसिद्ध छ भने पश्चिमी भूभागको कर्णार्लीका नामले । देशको मध्य–भागको, जल–प्रवाह–प्रणालीको मूर्तरूप भने म स्वयम् नै हुँ । प्राचीनकालदेखि नै मानिसहरूले मलाई आ–आफ्ना सुविधाअनुसार कृष्णागण्डकी, कालीगण्डकी, गण्डकी, काली, नारायणी, सप्तगण्डकी आदि नामले सम्बोधन
गर्दै आएका छन् । तनहुँ जिल्लाको देवघाटमा पूर्व–उत्तर दिशाबाट अथाह जलराशि बोकेर आएकी मेरी सहयात्री र भगिनी त्रिशूली नदीलाई अँगालोमा समेटेपछि मैले एक प्रकारले पूर्णता प्राप्त गर्छु । तदुपरान्त म नारायणी कहलिन्छु ।
नारायणीको अर्को नाम सप्तगण्डकी पनि हो, सप्तगण्डकी अर्थात् सात गण्डकीहरूको समुच्चय रूप ! यस नामभित्र मेरा ६ मुख्य सहायक नदीहरू समेटिएका छन् । यसलाई एउटा संयोग नै मान्नुपर्छ ः देशको पूर्वी भू–भागको जलप्रवाह–प्रणालीमा पनि ७ वटै नदीहरू छन् । त्यसैले त्यो ‘सप्तकोसी’ का नामबाट प्रशिद्ध छ । नारायणी वा सप्तगण्डकीका रूपमा लगभग सय किलोमिटर पश्चिम–दक्षिणको यात्रा गरेर नेपालको पश्चिम–नवलपरासी जिल्लाको त्रिवेणी–धाममा पुगेपछि
म वाल्मीकिनगर क्षेत्रबाट छिमेकी देश भारतको सरहदभित्र प्रवेश गर्छु । भारतमा मेरो नाम थोरै सानो भएको छ । त्यहाँ मानिसहरू मलाई मात्र ‘गण्डक’ भनेर सम्बोधन गर्छन् ।
केही करोड वर्षपहिले पृथ्वी नामक यस ग्रहपिण्डको गर्भमा रहेका भारतीय र युरोएसियाली टेक्टोनिक प्लेटहरू आपसमा जुधेर भएको भीषण भौगर्भिक उथलपुथलका कारण मेरो जन्म भएको हो । मेरो मात्र होइन, आज हाम्रो सामुन्ने हिमालय नामको, पूर्वमा चीन र बर्मादेखि पश्चिममा इरान र अफगानिस्तानसम्म करिब २५ सय किलोमिटर लामो भूभागमा फैलिएको र अग्ला–अग्ला टाकुराहरू भएको जुन महान् पर्वत शृंखला उभिएको छ, यसको जन्म पनि त्यतिबेला नै भएको हो । वास्तवमा त्यस प्रलयंकारी भौगर्भिक दुर्घटनाले त्यतिबेला पृथ्वीको आकारलाई पूरै फेरिदिएको थियो । कतिवटा महादेशहरू पृथ्वीको मानचित्रबाट गायब भएका थिए भने केही नयाँ देशको भौगोलिक अस्तित्वले आकार लिएको थियो । केही समुद्र अचानक सुकेर तिनका ठाउँमा नयाँ पहाडहरू उभिन पुगेका थिए । त्यस युगान्तकारी प्राकृतिक भविताको निकटको साक्षी र भोक्ता हौँ हामी दुई – मेरो भाइ हिमालय र म स्वयम् ।
यो मानव–जातिको इतिहास निर्माण हुनुभन्दा धेरै अघिको कुरो हो । करोडौं वर्षअघिको त्यस कालखण्डमा भारतीय उपमहाद्वीपको समस्त भूभाग अथाह मरूभूमिको विस्तारजस्तो मात्र थियो भने, अहिले तिब्बतको जुन विशाल मैदानी इलाका छ त्यो एउटा विशाल समुद्रका रूपमा मौजुद । त्यस्तैमा एक दिन जब पृथ्वीको गर्भमा रहेका दुई विशाल टेक्टोनिक प्लेटहरू आपसमा जुध्न थाले, त्यसको असरले तिब्बतको त्यो समुद्र नै अचानक गायब हुन पुग्यो । समुद्रका ठाउँमा विशाल मैदान बन्यो भने त्यसको दक्षिणी भागमा अचानक जमिन उचालिएर अग्लाअग्ला टाकुरा भएको पर्वत–शृंखला खडा भयो । म आफू पनि अचानक गायब भएको त्यही समुद्रको एक छेउमा अस्तित्वमा आएको एउटा हिमालको फेदीमा कालो रङको पानीको एउटा सानो सोतोका रूपमा जन्मिएकी हुँ । भयङ्कर भौगोलिक उथलपुथलका कारण एक्कासि गायब हुन पुगेको तिब्बत समुद्रको पिँधमा युगौँदेखि जम्मा भएको काला बालुकणहरूको थुप्रो सतहमा आएको र म त्यही कालो बालुवा र गेग्रिनका बीचबाट उत्पन्न भएकीले मेरो वर्ण कालो भएको हो । यही एउटा कारणले हो मकहाँ करोडौँ वर्ष पुरानो जीवाष्म ‘शालिग्राम’ पाइन्छ । हिन्दू धर्मका पुरोधा आदि शंकराचार्यले भगवान् विष्णुसँग जोडिदिएपछि शालिग्राम विशेषगरी वैष्णवमतमा विश्वास गर्ने हिन्दुहरूका लागि पूजनीय भएको छ ।
मेरो अहिले देखिने उद्गमस्थल मुस्ताङ उपत्यकाको पूर्वी छेउ, तिब्बतसँगको सीमानामा रहेको न्हुबिने हिमाल (उचाइ ६२६८ मिटर) र त्यसको हिमनदी हो । न्हुबिने हिमनदीबाट छौमा नामको सानो खोल्सीको रूपमा निस्केकी हुँ म । उद्गमस्थलबाट दक्षिण केही किलोमिटर पर पुगेपछि उत्तर–पश्चिममा पर्ने लो–मन्थाङ क्षेत्रको न्हेचुङ खोला मिसिन आइपुग्छ मसँग । न्हेचुङ खोला मसँग मिसिएपछि जन्मकालको ‘छौमा’ भन्ने मेरो त्यो नाम सधैँका लागि फेरिन्छ । त्यसपछि त्यहाँदेखि त्यस्तै ६० किलोमिटर जति तल बेसीमा रहेको कागवेनी नपुगुन्जेलसम्म म मुस्ताङ खोलाको नामले चिनिन्छु । कागवेनीको प्रख्यात संगममा पवित्र मुक्तिक्षेत्रबाट १०८ जलधाराका रूपमा निःसृत हुने, स्थानीय जनबोलीमा झोङ्खोला भनिने (कसै कसैले काक पनि भन्ने गर्छन्) कृष्णा नदी मसँग मिसिन आइपुग्छिन् । कृष्णा र मेरो मिलन भएपछि म मेरो सर्वाधिक प्रचलित नाम कृष्णागण्डकी अथवा कालीगण्डकीबाट परिचित हुन थाल्छु ।
तिब्बतमा पर्ने प्रख्यात दामोदर कुण्ड र मुक्तिक्षेत्रको पवित्र जलधारा समेटेर दक्षिणाभिमुख बग्ने मेरो यात्रा पथको कुल लम्बाइ ८१४ किलोमिटर छ । यो ८१४ किलोमिटर लामो मेरो यात्रापथमध्ये ५ सय किलोमिटरभन्दा केही बढी नेपालमा र बाँकी करिब ३ सय किलोमिटर भारतमा पर्छ । भारत, बिहारको सोनपुर नजिकको प्रख्यात हरिहर क्षेत्रमा पुगेर गंगामा समाहित हुनुअघि मैले मेरो जलाधार क्षेत्रका एक दर्जनजति ठूला र सयौँको संख्यामा अरू साना नदी र खोलाहरूलाई आफूमा समाहित गरिसक्छु । मेरो जलप्रणालीबाट सिञ्चित हुने जमिनको कुल क्षेत्रफल १७९०० वर्गकिलोमिटर छ । खेदको विषय, मसँग भएको पानीको विशाल स्रोतको नेपालले आफ्नो जमिनको सिँचाइका लागि अपेक्षा र सम्भावनाअनुरूप उपयोग गर्न सकेको देख्दिनँ । भारत सरकारको पहलमा नेपाल–भारतको सिमानाको वाल्मीकिनगर क्षेत्रमा इस्वीको १९६० को दशकमा बनाइएको ‘गण्डक नहर’ लाई लिएर परियोजना सम्पन्न भएका बेलादेखि नै विवाद चलिरहेको छ । गण्डक परियोजनामा नेपालको हक र हितको पूरै बेवास्ता गरिएको मात्र होइन, त्यसको इन्जिनियरिङ डिजाइन नेपालका निम्ति अभिशाप हुने किसिमले गरिएको आरोपसमेत लाग्दै आएको छ ।
मेरो अथवा सप्तगण्डकीको जलाधार क्षेत्रमा हिमालय पर्वत शृंखलाका ८ हजार मिटरभन्दा अग्ला ३ वटा शिखरहरू ः धवलागिरि, अन्नपूर्ण र मनास्लु पर्छन् भने यसै क्षेत्रमा ८ हजार मिटरभन्दा कम र ६ हजार मिटरभन्दा माथिका २ दर्जनभन्दा धेरै हिम–शिखरहरूलाई अलौकिकझैँ लाग्ने दृश्य प्रस्तुत गर्दै शानसँग उभिएको देख्न सकिन्छ । हिमालय पर्वत शृंखलाको मध्यभागको यस इलाकाको पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरी चौथोसम्मको फैलावटमा पर्ने हिम–शिखरहरूमध्ये प्रमुख छन् ः लाङटाङ, दोर्जे लाक्पा, गणेश, हिउँचुली, लम्जुङ, गंगापूर्ण, नीलगिरि, माछापुछ्रे, अन्नपूर्ण पहिलो, दोस्रो, तेस्रो र चौथो तथा धवलागिरि पहिलो, दोस्रो, तेस्रो र चौथो आदि । नेपालको स्थानीय प्रशासनिक विभाजनअनुसार, मेरो अथवा सप्तगण्डकीको जलाधार क्षेत्रमा पूर्वबाट क्रमशः रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, मनाङ, कास्की, मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पर्वत, स्याङ्जा, पाल्पा, तनहुँ, चितवन, पूर्व–नवलपरासी र पश्चिम–नवलपरासी जिल्लाहरू पर्छन् ।
मुस्ताङ र म्याग्दी जिल्लाबाट म धवलागिरि र अन्नपूर्ण हिमशिखरलाई दायाँ–बायाँ राखेर बिस्तारै मैदानी इलाकाको बाटोमा अगाडि बढ्छु । मेरै जल–प्रवाह–क्षेत्रमा पर्छ– यस संसारमा विद्यमान स्वर्गको सानो टुक्रा भन्न सकिने विश्वविख्यात पोखरा उपत्यका । थोरै हात तन्काएका खण्डमा चपक्क समाउन सकिनेजस्तो नजिक लाग्ने माछापुछ्रे हिमाल, फेवासमेत चारवटा सुन्दर तालहरू, दुइटा प्राकृतिक गुफा र ३ किलोमिटर लामो सेती नदीको गहिरो खोँचजस्ता अद्भुत प्राकृतिक वरदानहरूले सुसज्जित पोखरा उपत्यकालाई गण्डकी क्षेत्रको मात्र होइन, सारा नेपालकै एउटा गौरवपूर्ण प्राकृतिक सम्पदाका रूपमा लिन सकिन्छ । साथै, मेरो यही जलाधार क्षेत्रमा विकसित भएको छ ः संसारभरिका प्रकृतिप्रेमी पदयात्रीहरूको मूल्याङ्कनमा विश्वकै सर्वश्रेष्ठ ठहरिएको अन्नपूर्ण पदयात्रा–मार्ग । देवदार, कटुस, बाँझ र आँखी सल्लाको घना जंगल, तरेली परेका खेत र बारीका पाटाहरू, मौलिक नेपाली शैलीका गाउँ र बस्तीहरू, खुला खर्क र बुकीको नयनाभिराम पृष्ठभूमिमा उभिएको यस पदयात्रा मार्गलाई त्यहाँ पुग्ने जो कसैले पनि मनोरम प्राकृतिक दृश्यावलीको जीवन्त रूप भनेर तारिफ गर्छ ।
सप्तगण्डकी नदी प्रणालीमा मेरा मुख्य सहायक नदीहरू छन् ः त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती, र मोदी । पूर्वमा गोसाइँकुण्ड हिमालको पश्चिमतिरको पानीढलोदेखि पश्चिममा धवलागिरि हिमालको दक्षिणतिरको पानीढलोसम्मको विस्तृत भू–भागलाई समेट्ने यो जलाधार इलाकामा रहेका सयौँ मझ्यौला र साना नद, गाड, खोला र खहरेहरू देशका ५ अञ्चल, पूर्वबाट क्रमशः वाग्मती, गण्डकी, धवलागिरि, लुम्बिनी र नारायणीका विभिन्न ठाउँमा आएर मुख्य गण्डकी नदीहरूमा मिसिन्छन् ।
यस नदी प्रणालीको जलघनत्वलाई वर्षभरि नै एउटा विन्दुमा स्थिर राखिरहन मायी खोलाहरूबाट प्राप्त हुने पानीको मात्राको ठूलो योगदान रहेको छ । गण्डकी नदी प्रणालीका महत्त्वपूर्ण अंशका रूपमा रहेका त्यस्ता खोलाहरूमा प्रमुख छन् ः भोटेखोला, बेत्रावती, तादी, दरोँदी, ङादी, पौँदी, रहुघाट, म्याग्दी, आँधीखोला, बडिगाड र राप्ती आदि । यीमध्ये केहीलाई त पानीको घनत्व र बहावको तीव्रताका दृष्टिले मलगायत केही मुख्य गण्डकी नदीहरूकै हाराहारीमा राख्न सकिन्छ जस्तो ः रहुघाट, बडिगाड आदि ।
नेपालको जलप्रणालीमा भएका अधिकांश नदी र खोलाहरू हिमालबाट निःसृत भएकाले यिनमा बाह्रै महिना केही न केही मात्रामा पानीको स्थिर परिमाण रहने गर्छ, यद्यपि हिउँद याममा पानीको घनत्वमा केही कमी आउनुलाई स्वाभाविक मान्नुपर्छ । त्यसबाहेक गण्डकी नदी प्रणालीको जलाधार क्षेत्रमा रहेका १ हजार २५ हिमनदीहरू र ३ सय ३८ ताल–तलैयाहरूले पनि यस क्षेत्रका नदी–नालाहरूलाई सुक्न नदिन र तिनमा बाह्रै महिना केही न केही मात्रामा पानीको बहाव बाँकी राखिरहनमा मद्दत गरिरहेका हुन्छन् । यस गण्डकी नदी प्रणालीमा मिसिएर यसको अविभाज्य अंश बन्दै आ–आफ्नो अस्तित्व यसैमा विलीन गरेका सबै खोला–नालाहरूको नाम सम्झिन त म सक्दिनँ तर मेरो रक्त धमनीमा तिनको चञ्चल गतिको अनुभूति भने म हर्दम गरिरहेको हुन्छु ।
मेरो आधार–भूमि नेपाल जल–सम्पदाका दृष्टिले विश्वकै दोस्रो नम्बरको सम्पन्नशाली देश मानिएको छ, जहाँ उपलब्ध पानीको ठूलो स्रोतलाई ऊर्जा विकासका निम्ति सदुपयोग गर्न सक्ने हो भने ८३ हजार मेगावाटभन्दा बढी बिजुलीको उत्पादन गर्न सकिने अनुमान गरिएको छ । राष्ट्रिय स्तरमा निकाल्न सकिने भनी अनुमान गरिएको सो ८३ हजार मेगावाट बिजुलीमध्ये गण्डकी नदी प्रणालीबाट मात्रै करिब २० हजार ६ सय ५० मेगावाट निस्कने हिसाब जलस्रोत क्षेत्रका विज्ञहरूको निकालेका छन् । तर, देशमा योजनाबद्ध विकास अभियानको थालनी भएको ७ दशक बितिसक्दा पनि हालसम्म देशमा उपलब्ध जलस्रोतबाट निकाल्न सकिने बिजुलीको कुल परिमाणको अत्यन्त सानो अंश मात्र निकाल्न सकिएको खेदजनक यथार्थले मलाई बेला–बेलामा झस्काइरहन्छ । देशभरिमा अहिलेसम्म उत्पादन भएको बिजुलीको कुल परिमाणलाई विद्युत् प्राधिकरणका अधिकारीहरूले तानतुन गरेर १ हजार मेगावाटसम्म पुर्‍याउने गरेको भए तापनि वास्तविक परिमाण ७ सय मेगावाट मात्र भएको दाबी गर्नेहरू पनि उत्तिकै छन् । देशमा अहिले सञ्चालनमा आइरहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो (कालीगण्डकी ‘ए’ १४४ मेगावाट) भने मेरो नाममा छ ।
माथिल्लो मुस्ताङको न्हुबिने हिमालबाट निस्किएकी मैले सोही जिल्लाको कागबेनी आइपुग्दासम्म बेग्लै प्रकारका, कम उचाइका गल्छी र खोँचहरू हुँदै आफ्नो महान् गंगा नदीसम्मको यात्रालाई जारी राखेकी हुन्छु । मेरो यात्रा अघि बढ्दै जाँदा जब मुस्ताङ जिल्लाको सिमाना काटेर म्याग्दी जिल्लामा प्रवेश गर्छु, त्यतिबेला भने म अन्नपूर्ण हिमालको पश्चिम–उत्तर पानीढलोको फेदीमा रहेको संसारकै सबैभन्दा गहिरो गल्छी (गोर्ज) मा खस्न पुग्छु । त्यस गहिरो प्राकृतिक खोँचको नाम अन्धो गल्छी भनेर कुनै जानिफकारले नै राखेको हुनुपर्छ । त्यहाँ आइपुग्नुअघि मैले मुस्ताङका केही प्राकृतिक र केही मानवनिर्मित स्मारकहरूलाई आफ्नो स्मृतिको फलकमा उतारिसकेको हुन्छु । लो–मन्थाङस्थित मुस्ताङी राजाको प्रासाद–नगर, चराङको विशाल लामा–बौद्ध गुम्बा, संसारकै सबैभन्दा अग्लो ठाउँमा रहेको ताल तिलिचो, १०८ धारा तथा अविछिन्न ज्योतिर्लिंगले सुसज्जित पवित्र मुक्तिनाथ धाम, एक्लेभट्टीदेखि जोमसोमसम्म प्रत्येक दिन अपराह्नसम्म बेतोडसँग कुद्ने अन्धो घोडाजस्तो बतास र धवलागिरि हिमालबाट निस्किएको बोक्सीखोला नामको सम्भवतः संसारमै सबैभन्दा चिसो पानी भएको त्यो सानो मूललाई मैले आफ्ना अनुभव र अनुभूतिको कोशागारमा सधैँका लागि सुरक्षित राखेकी छु ।
मेरो यात्रा–पथको किनाराहरूमा केही महत्त्वपूर्ण मानव–बस्तीहरू बसेका छन् । तीमध्ये सबैभन्दा पुरानो बस्ती लो–मन्थाङ नै हुन सक्छ । केही वर्षअघि त्यस प्रासाद–नगरको नजिकै भेटिएका गुफाहरूले त त्यस भेगमा विकसित मानव समाजको इतिहासलाई अझै पर लैजान्छन् । लो–मन्थाङबाट तलतिर ओर्लंदा भेटिनेछन् पुनेल ठिनेलहरूका मार्फा, स्याङ, ठिनी, छैरुजस्ता गाउँहरू र चारथरी थकालीहरूका टुकुचे, कोबाङ र लेतेजस्ता बस्तीहरू । त्यहाँबाट तल हिँड्दै जाँदा बेनी, बागलुङ, कुस्मा, रिडी, नारायणगढ, त्रिवेणीधाम र वाल्मीकिनगरजस्ता विकसित सहर–बजारहरूसँग साक्षात्कार गर्न सकिन्छ । म मैदानी इलाकामा पुगिसकेपछि मेरो देब्रेतिर पर्ने राप्ती उपत्यकामा चितवन नामक जनपदको पछिल्ला ४०–५० वर्ष जुन तीव्र गतिमा र सन्तुलित किसिमले विकास भएको छ, त्यससँग मिल्दोजुल्दो दृष्टान्त विकासशील मुलुकहरूको आधुनिक इतिहासमा सायदै पाइएला । मेरो यात्रापथमा मुक्तिनाथधाम, गलेश्वरधाम, सेतीवेनी, रुरुक्षेत्र (रिडी), देवघाट र त्रिवेणीधाम–वाल्मीकि आश्रमजस्ता अनेक महत्त्वपूर्ण धार्मिकस्थलहरू पनि छन् । मेरो सम्बल पाएर विकसित नागर सभ्यताका प्रतीक झरिला–भरिला मानव–बस्तीहरू र आस्थाका सुसंरक्षित केन्द्रहरू देखेर म खुसीले गद्गद् हुन्छु । मुक्तिनाथधाम अर्थात् मुक्तिक्षेत्रमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको विश्वास र आस्थाले उत्तिकै सम्मान पाएको देखेर म झनै आल्हादित छु ।
मेरो किनाराका मानव–बस्तीहरूले बहु–सांस्कृतिक मोज्याइक प्रस्तुत गर्छन् । माथिल्लो र बीच मुस्ताङको भोट–तिब्बतबाट अनुप्राणित रीति–रिवाज, थकालीहरूको तोरन्लह, म्याग्दी, बागलुङ, गुल्मी, स्याङ्जा र पाल्पाका मगर–समाजमा विकसित यानिमयाँ, सालैजु, मारुनी र सँगिनीजस्ता लोकभाकाहरू, बागलुङ, पर्वत, स्याङ्जा र गुल्मी भेगका बाहुन–क्षत्री समाजले जोगाएर राखेका भजन, बालुन, सबाईजस्ता लोककाव्य परम्परा, मैदानी इलाकाका आदिवासी थारूहरूका मौलिक गीत–गाथा, अल्पसंख्यामा रहेका कुमाल, बोट, दरै, दुरा आदि जातिको बेग्लै खालको संस्कृति, यी कुराहरूले नै बनेको छ समग्रमा कृष्णागण्डकी नदी सभ्यता । र, यिनै कुराबाट अनुप्राणित भएको छ नेपाल राष्ट्रको विविधतामा एकताको मूल मन्त्र पनि !

 

विविधा

हिरोइन–प्रश्न

- शोविता सिम्खडा

 

झट्ट हेर्दा नायिकाहरूको जीवन भव्य देखिन्छ । तर, पुरुषप्रधान समाज, पितृसत्ता, व्यापार, मस्तीवादी सिने जगत् र यौन कुण्ठित मनोविज्ञान बोकेको उपभोगमुखी बजारले एक नायिकाको वस्तुकरण मात्रै गरिरहेको छैन, तिनको व्यक्तिगत जीवन खोतलेर हुर्मत लिनेदेखि त्यसैबाट आफ्नो यौन कुण्ठा पनि मेटाइरहेको छ । यस आलेखमा कसरी एउटी नायिकालाई सिनेमा, पत्रकार र समाजले वस्तुकरण गर्ने गर्छ भन्ने विषयमा आफ्नो अनुभव र बुझाइ लेखेकी छु ।
सुरुमा हामी हिरोइनलाई बारम्बार सोधिने केही प्रश्नमा जाऔं, तपाईं भर्जिन हुनुहुन्छ कि हुनुहुन्न ? हुनुहुन्छ भने तपार्ईंजस्तो सुन्दर नारी अहिलेसम्म किन भर्जिन ? हुनुहुन्न भने तपाईंको पहिलो सेक्स अनुभव कस्तो थियो ? तपाईंलाई सेक्स गर्न कुन ठाउँ बढी मन पर्छ ? बिहेअगाडिको सेक्सको विषयमा तपाईंको धारणा के छ ? पोर्न मुभी हेर्नुभएको छ ? पहिलो अनुभव कस्तो थियो ? तपाईंलाई कोसँग डेट जान मन छ ? तपार्इंलाई आफ्नो शरीरको सबैभन्दा सेक्सी लाग्ने अंग कुन हो ?
लुकेर पनि यस्ता प्रश्नमा कुरा गर्न हिचकिचाउने हाम्रो समाजमा हिरोइनहरूलाई भने सार्वजनिक रूपमै यी प्रश्न–प्रहार गरिन्छ । र, जबरजस्ती उत्तर दिन बाध्य पारिन्छ । चर्चा–परिचर्चाभित्र रमाइरहँदा र उज्ज्वल भविष्य खोजिरहँदा बारम्बार सोधिने यस्ता हिरोइन–प्रश्नहरू चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समयसम्म सामान्यझैं लाग्न सक्छ । तर, यथार्थबाट बाहिर निस्किएर मूल्याकंन गर्दा ती हिरोइन–प्रश्नहरू नारी स्वाभिमानकै हुर्मत काढ््न तेर्स्याइने गरेझैँ लाग्छ ।
हिरोइनलाई बारम्बार सोधिने यी प्रश्न कसका हुन् ? र, यसको अपेक्षित उत्तर कसको मनोरञ्जनका लागि हो ? पाठक, पत्रकार वा आम समाज ? हाम्रो समाज हिरोइनलाई आफ्ना प्रश्नहरूका उत्तरमा नङ्ग्याएर उसको नग्नतामा आनन्द लिन चाहन्छ । र, यस्ता प्रश्न सोध्ने पत्रकारचाहिँ हिरोइनलाई शब्दमा नङ्ग्याएर कुण्ठाको व्यापार गर्छ । यस्ता मसला बढी बिक्छन् भनेर हिरोइनलाई अनेक प्रलोभनमा पारिन्छ ।
किन सुन्न, हेर्न र पढ्न चाहन्छ हिरोइनका सेक्सका किस्साहरू यो समाज ? के यौन कुण्ठा बोकेर बाँचिरहेको पुरुषप्रधान समाजको यथार्थको उपज हो यो ? अनि हिरोइन सोकेसमा सजाइएको कुनै बिक्रीको वस्तु हो ? मैले सुरुमा उठाएका प्रश्न सोध्ने पत्रकार त्यस्ता प्रश्नसँगै यौन आनन्द पनि लिइरहेको हुन्छ । कहिलेकाहीँ यी हिरोइन–प्रश्न यति निर्दयी हुन्छन्, तिनले हिरोइनलाई मनोवैज्ञानिक बन्दी बनाउँदै लैजान्छन् । मानौं हिरोइन हुनु भनेको समाजलाई मनोरञ्जन दिने एउटा जीवित गुडिया मात्रै हो । मानौं हिरोइनको शरीर यस्तो हो, जसको सौन्दर्यले पुरुषलाई मन्त्रमुग्ध र महिलालाई ईर्ष्यालु पार्न सक्नुपर्छ ।
हिरोइन नामक ‘गुडिया’ लाई चलचित्र दुनियाँले रंगरोगन तथा लाइट र क्यामराका कोणहरूले सजाइरहन्छ । विज्ञापन सामग्री बनाएर उपभोग्य सेवाको रूपमा प्रस्तुत गरिन्छ । हिरोइनको व्यक्तित्व–विकासको संघर्ष नै जवानी र सौन्दर्यको संरक्षण र संवर्द्धनमा केन्द्रित हुन्छ ।
हिरोइनका वरिपरिका मानिसले यस्तो भ्रम सिर्जना गरिदिन्छन् मानौं ऊ नै यो समाजको खास केन्द्र हो र हिरोइन नै सबैभन्दा सुन्दर अस्तित्व । त्यसपछि उसलाई बिस्तारै आफ्नो शरीरप्रति बेहद घमण्ड जाग्न थाल्छ । उसमा यस्तो विचार आउँछ— शरीर र रूपले नै संसार जितिन्छ ।
चलचित्र क्षेत्रकै कतिपयको बुझाइ छ— हिरोइन केवल गुडिया हो र त्यो गुडियालाई आफूअनुकूल चलाउन पाउनुपर्छ । र, त्यसमा कुनै हिरोइन असहज भइदिइन् भने उनले चलचित्र क्षेत्रबाटै हातै धुनुपर्ने अवस्थासम्म पनि आउन सक्छ । मानौं, तिनको यौन कुण्ठाको बोझ बोक्नु नै हिरोइनको एक मात्र नियति हो ।
यो यस्तो पेसा हो जहाँ अधिकांश हिरोइनले आफ्ना व्यक्तिगत जीवनलाई कुल्चिदिनुपर्छ । र, समाजले उनीहरूलाई बिस्तारै विवेकहीनताको दलदलमा फसाउँदै लैजान्छ, सँगै उनीहरूमाथिको विविध शोषण त छँदै छ, जसको फाइदा फेरि त्यही असंवेदनशील समाजले नै लुट्छ ।
मानिसहरू भन्छन्— हिरोइनको आयु एकदम छोटो छ । त्यसैले हतारहतार सबै चीज प्राप्त गरिहाल । त्यो दबाबमा परेर उनीहरूले आफ्ना विवेक गुमाउँदै जाने खतरा हुन्छ । चलचित्रको भागदौडमा पछाडि पर्ने डरले उनीहरूमा असुरक्षा बढ्दै जान सक्छ । र, उनीहरूमा निराशा, छटपटी, तनाव सिर्जना हुन्छ । केही हिरोइन भने यस्ता तनावबाट पूर्ण रूपमा मुक्त छन् । तनावबाट पार पाउन नसकेका धेरैलाई लाग्न सक्छ— म किन हिरोइन नै हुन पुगेँ ?
चलचित्र आफैँमा उत्कृष्ट कला हो । तर, दुर्भाग्य चलचित्रलाई केवल सपनाको व्यापार मान्नेको बाहुल्य छ । त्यसैले चलचित्र बौद्धिकता, संवेदनशीलता र जिम्मेवारीभन्दा पर नाफा र मस्तीको व्यापार भइदियो । र, त्यसको बोझ हिरोइनले बोक्नुपर्‍यो ।
सामान्य प्रश्न— एउटा आदर्श परिवारले आफ्नी छोरीलाई हिरोइन हुन किन स्वीकृति दिँदैन ? किनभने हाम्रो समाजले हिरोइनलाई रेस्पेक्ट नै गरेन । र, बजारले उनीहरूलाई निर्दयी तरिकाले निचोरिरह्यो । विवेक र बौद्धिकताले गुडियाजस्तै सजिनु, टल्किनु र भ्रमको जालो ओढ्नुलाई सधैं बहिष्कार गर्छ । तर, भ्रम बेचेर नाफा कमाउन खोज्ने बजारचाहिँ त्यो बौद्धिकतालाई प्रारम्भमै बहिष्कार गर्छ । हिरोइनका लागि यो एक दुर्भाग्य हो ।
यो उत्पीडन या नियति केवल हिरोइन हुनुको होइन एक नारी हुनुको हो । हाम्रो धर्म–संस्कृति र पितृसत्ताले स्थापित गरेको विभेदको उपज हो । ‘मनुस्मृति’ को अध्याय पाँचौंको एक सय अठचालीसौं श्लोकमा हिरोइन–पीडाको मूल कारण भेट्न सकिन्छ । त्यहाँ लेखिएको छ, ‘एउटी नारी कुनै पनि अवस्थामा स्वतन्त्र हुन सक्दिन । बाल्यकालमा ऊ आफ्नो बाबुको संरक्षणमा हुनुपर्छ, बिहेपछि श्रीमान्को संरक्षणमा र श्रीमान् बितेपछि छोराहरूको संरक्षणमा ।’ हाम्रो सामाजिक संरचनाले कहिल्यै नारीको स्वतन्त्र र स्वाभिमानी अस्तित्व स्विकारेन ।
आजकाल लाग्न थालेको छ— यी प्रश्न नारी स्वाभिमानको हुर्मत काढ्न र यौन कुण्ठित पुरुष बजारको सस्तो मनोरञ्जनका लागि मात्रै हुन् । यस्ता विषयमा बहस त सुरु भएका छन् । तर, हिरोइनको संसार अझै पनि पीडादायी छ । अबका नयाँ हिरोइनले आफ्नो हुर्मत लिनेखालका प्रश्न लिएर आउने पत्रकार र समाजलाई उल्टै प्रतिप्रश्न गर्न सक्नुपर्छ ।
(सिम्खडा अभिनेत्री तथा ‘वराङ्गना’ पुस्तककी लेखक हुन्)

Page 6
सहर/रहर

काठमाडौं क्वारेन्टाइन

एउटा मानिस त्यस्तो निद्रालाई पर्खेर बसेको छ, जो रातभर आउँदैन । अनि उसको भाग्य दिउँसै निदाइदिन्छ । निद्रा र भाग्यको खेलमा परेका हामी नेपाली धेरै छौं ।
- किशोर नेपाल


ॅएक निद्रा छ, जो रातभर आउँदैन । अर्को भाग्य छ, जो दिउँसै निदाइदिन्छ ।’

जापानमा गुजारा जुटाइरहेका नेक्टर पलले आफ्नो फेसबुक वालमा राखेका यी दुई पंक्ति पढेपछि मेरो चेतना अचानक जागृत भयो । मानिसभित्र अन्तरद्वन्द्वको यो कस्तो भुमरी ! एउटा मानिस त्यस्तो निद्रालाई पर्खेर बसेको छ, जो रातभर आउँदैन । अनि उसको भाग्य दिउँसै निदाइ दिन्छ । निद्रा र भाग्यको खेलमा परेका हामी नेपाली धेरै छौं । यति हो कि नेक्टरले आफ्ना भावहरू अभिव्यक्त गरे । हामीले सकेनौं । यो महामारीको बेला नेक्टरलाई पक्कै पनि देश फर्किन मन लागेको होला । तर, देश फर्किनु त्यति सजिलो कहाँ छ र ? नाकानाका अवरोधमा परेको छ कोरोना भाइरसका नाममा । यस्तो हाहाकारको मौसममा कसरी फर्किनु देश ? यात्रा, त्यो नाकाबाट पार पाए यो नाकामा रोकिन्छ । यात्रा हो, अर्को कुनै नाकामा अलमलिन्छ । अहिलेको मानिस जंगबहादुरले जस्तो पानी जहाजसंँगै तैरिँदै वर्षौं लामो यात्रा गर्न सक्दैन । महामारीको यो मौसममा आकाशमा एउटा मात्रै पनि हवाइजहाज देखिएको छैन । लाग्छ, सरकारले
आफ्नो भागको आकाश पनि लकडाउन गरेको छ ।
काठमाडौं उपत्यका ठूलो क्वारेन्टाइन बनिसकेको छ यतिबेला । यहाँबाट बाहिरिन अप्ठेरो छैन । भित्रिन महाभारत पहाड छिचोल्नुपर्छ । काठमाडौंलाई ट्रान्जिट बनाएका मानिसका लागि मात्र होइन, स्थायी रूपले यहीं बसोबास गर्नेका लागि पनि प्रवेश कठिन छ । हो, ‘पावर’ मा कोही आफ्ना मानिस छन् भने नियम–कानुन निदाउन पनि सक्छ । नियम सनातन हो यो ।
यी असंगतिहरू देख्दा मानिसलाई लाग्न सक्छ— के नै रहेछ र देश भन्नु पनि ! उस्तै त रहेछ, देशको ऐतिहासिक राजधानी सहर काठमाडौं भन्नु पनि । जब आफ्नै देश आफूले चाहेको समयमा फर्किन सकिँदैन भने मन कसरी थाम्न सकिन्छ ? आँसु कसरी रोक्न सकिन्छ ? कसरी सकिन्छ देश भक्तिको भावनासँग एकाकार हुनु ? कसरी सकिन्छ देशको माटोको सुगन्ध फैलाउन ?
हिजोका दिनसम्म खल्तीमा एक पैसा थिएन । धेरै मानिस थिए, हेप्ने । आज खल्तीमा पैसा छ । र पनि, हेप्ने मानिसको कुनै कमी छैन । नेपालीका लागि निद्रा र भाग्यको अवस्था नेपाल र जापान अथवा कोरिया र कतार सबैतिर उस्तै छ । अवस्था जस्तो भए पनि, तै, अहिलेसम्म काठमाडौं उपत्यकाले आफ्नो शान र चुरीफुरी कायम राखेको छ । हिरामानले बकुला सिमी र प्यूठानी मुला उब्जाउने खेतमा अग्लाअग्ला भवन बनेका छन् । हीरामान ती भवनभन्दा बाहिरको लहरमा बनेको छाप्रोमा सरेको छ । खेतमा बकुला सिमी रोप्न छोडेबापत उसको हातमा परेको थियो पाँच लाख रुपैयाँ । त्योमध्ये छोरा रूपमानलाई मलेसिया पठाउँदा पूरै दुई लाख खर्च भयो । रूपमानले अहिलेसम्म एकसुका पनि पठाएको छैन । एक लाख रुपैयाँ नानीचाको बिहेमा खर्च भयो । नानीचाले चम्पु श्रेष्ठसँग लभ गरिछ । लभ गरेपछि बिहे गरिदिनुपरिहाल्यो ।
हीरामान आफ्नो छाप्रोअगाडिको चौरमा बसेर तमाखु तान्दै छ । सहरमा अचेल सितिमिति तमाखु पाइँदैन । हीरामान तमाखु किन्नकै लागि नरदेवी जाने गर्छ । अहिले लकडाउन छ । बस ट्याम्पो केही चल्दैन । तै, लकडाउन सुरु हुने अघिल्लो दिन एक धार्नी तमाखु ल्याएको थियो । त्यही तानिरहेको छ खटाई खटाई । हीरामानको छाप्रोलाई घेरेर स–साना केटाकेटी चोर–पुलिस खेल्दै छन् । बच्चाहरू बाठा भैसकेका छन् । खेलमा कुनै पनि खेलाडी चोर बन्न चाहँदैन । सबै पुलिस बन्न चाहन्छन । हो नि, चोर बन्नुभन्दा पुलिस बन्नु धेरै सजिलो छ । चोर साबित भैसकेपछि पुलिस बन्न गाह्रो छ । पुलिसको बर्दी लगाएपछि चोर बन्न विशेष केही गर्नै पर्दैन । कताबाट कताबाट चोरको बुद्धि आफैं आइहाल्छ ।
उपत्यकाका थुप्रै गाउँ म्युनिसिपलेटी बनेका छन् । यी म्युनिसिपलेटीमा चहक छ, चमक छैन । सहरमा बस्ने गाउँलेहरू चालीस वर्षअगाडिको सुनधारा सम्झिन्छन् । सुनधाराको पानीमा सर्लक्क भिजेको सम्झिन्छन् । पानी पिएको सम्झिन्छन् । लकडाउन सुरु भएपछि एक जना मानिस ‘पिनास–धारा’ खोज्दै आए बानेश्वरको वाणगंगा । पिनास धाराको पानी खाए पिनास रोग नास हुने विश्वास थियो मानिसको । विश्वास पछ्याउँदै आउने यस्ता मानिसको अहिले पनि कुनै कमी छैन । तर, त्यो धारो कहाँनिर भास्सिएको छ ? टोलबाहिरका मानिसले पत्ता लगाउनु कठिन नै छ । चार दशकअगाडि काठमाडौं उपत्यकाका गाउँ र टोलमा बस्ने मानिस चार दशकपछाडि विस्थापित भैसकेको छ । काठमाडौं सहरका विभिन्न टोल र गल्लीमा थुनिएर बसेका धनीमानीहरू चिसो हावा खोज्दै बूढानीलकण्ठतिर बसाइ सरेका छन् । अब कसरी भन्नु कि सहरमा गुणात्मक परिवर्तन आएकै छैन ? यो पनि थाहा भयो, काठमाडौं उपत्यकाका मानिसका लागि हिमाल महत्त्वपूर्ण होइन । ‘बिहान उठ्नेबित्तिकै हिमाल हेर्न पाइयोस्’ भन्ने गीतभित्रको भावना कति अनुर्वर रहेछ, कति बाँझो रहेछ !
तीन दशकपहिले, २०४७ सालमा, देशको शासन व्यवस्था फेरिएर २०१७ सालमा खारेज भएको संवैधानिक राजासहितको संसदीय पद्धतिलाई पुनर्जीवन दिइएको थियो । मुस्किलले त्यो पद्धति एक दशक चल्यो होला । अब त, त्यो कालखण्ड इतिहासको पानामा पुरिई पनि सक्यो होला । त्यो पद्धति प्रारम्भ भएको पाँच वर्षपछि नै देशमा हिंसाको डढेलो सल्कियो । त्यही दशकमा राजा र उनको परिवारको सामूहिक हत्या भयो । जनताको मनमा सनातनदेखि रोपिएको विश्वास थियो, राजा ईश्वरका अवतार हुन् । राजा र राजपरिवारको विनाशपछि जनताको त्यो भ्रम तोडियो । नेपाली जनताले त्यसपछिको समय एकप्रकारको कोलाहल र हाहाकारमा बिताए । अहिले शानदार पन्ध्र वर्षमा चलिरहेको छ संघीय लोकतान्त्रिक गणतन्त्र । यो पन्ध्र वर्षमा पनि मानिसको जीवनमा गुणात्मक परिवर्तन आएको छैन । सत्य यति मात्रै हो ।
उपत्यकामा मानिसको मन पनि सहरका गल्लीहरूजस्तै साना छन्, साह्रै संकीर्ण । सडक त्यति फराकिला बन्न सकेका छैनन् । विदेशी अनुदानको अभावले सडक फराकिला बन्न नसकेका होइन । केही समयअघिसम्म नेपालमा काम गर्न भनेपछि रमाउँथे विदेशीहरू । चिनियाँले केही दशकअघि जुन जोसका साथ, जुन रफ्तारले, रिंगरोड बनाएका थिए, त्यो जोस अहिले रिंगरोडको अपग्रेडिङमा देखाउन सकेनन् । सडक मात्रै होइन । अहिले सडकमा निस्किने जुलुसहरूको पनि गुणात्मक तत्त्व ध्वस्त भएको छ । तीस वर्षअघि देशमा आमूल परिवर्तनको माग राख्दै, निकै जोस र जुनूनका साथ निस्किन्थे जुलुस । अहिले न त्यस्तो जोस छ, न जुनून । मानिसका अभिव्यक्ति राजनीतिक कर्मकाण्डजस्तो हुन थालेका छन् । मानिसका दुःख, संघर्ष र उसले आफ्ना लागि तयार गरेको जीवन मूल्य औपचारिकतामा सीमित र संकुचित भएका छन् । कुनै बेला मानिस आफ्नै आकांक्षाको दास थियो । अहिले पनि अवस्था उस्तै छ । मानिसले आफ्ना आकांक्षालाई दास बनाउन सकेको छैन । मानिस आफैंबाट हराएको छ । मानिस आफैंसँग पराजित भएको छ । तैपनि, मानिसमा अपमान र पराजयको कुनै भाव छैन । ऊ पराजयलाई पनि आफन्त सम्झिन बाध्य भएको छ ।
कुनै समय यस्तो पनि थियो, जब मूल सडकको किनाराबाट थोरै उकालो उक्लिएर मानिसहरू सहरलाई घेरेर बसेका डाँडाको भञ्ज्याङमा पुग्थे । चिसो बताससँग रमाउँथे । चारैतिरबाट सहरमाथि नजर घुमाउँथे । देखिएका प्रत्येक रंगीन दृश्यलाई आफ्नो क्यामरामा कैद गर्दथे । सात रंगको अनौठो समागम ! अनुपम र अवर्णनीय दृश्य ! अहिले त्यस्तोसुन्दर दृश्य कतै देखिँदैन । जताततै फैलिएको भीड ! घरको भीड ! मानिसको भीड ! पसलको भीड ! सामानको भीड ! हल्लाको भीड ! आँसु र अट्टहासको भीड ! आवाजको भीड ! तस्बिर खिच्नु सस्तो र सजिलो थिएन । डिजिटल थिएन प्रविधि । अहिलेको जस्तो भए हजारौं हजार फोटो खिच्ने रहर पूरा गर्ने थिए होलान् मानिसहरूले ।
शरदचन्द्र शाह । उनी खेलकुदका नेता थिए एक समयमा । उनी त्यतिबेलाको निर्दलीय राजनीतिक व्यवस्थाको एउटा पक्षमा थिए र बदनाम थिए । एकपटक उनले भनेका थिए ः काठमाडौं चाँदीको कचौराजस्तो छ । यहाँका मानिस कमिलाजस्ता छन् । यो बाक्य बोल्दा उनी थिए खेलकुद परिषद्का सदस्यसचिव । खेलकुदको नेताको हैसियतले उनी त्यतिबेलाको राजनीतिका माफिया थिए । मन्त्रीहरूको नियुक्ति उनको सिफारिसमा हुने गरेको सुनिन्थ्यो । केही वर्षअघि उनको निधन भैसकेको छ । पार्थिव रूपले जो मानिस यो पृथ्वीमा छैन उसको कुरा काट्नु किञ्चित राम्रो मानिँदैन । विचारको हिसाबले उनले काठमाडौंलाई चाँदीको कचौरासँग दाँजेर यहाँका मानिसलाई ‘कमिलाजस्ता’ बनाइदिए । ती राता, काला र पखेटा उम्रिएका कमिला अहिलेसम्म टिकेका छन् यो उपत्यकामा । ती अझै अरू कति समय टिक्ने हुन् ? त्यसको अनुमान गर्नु कठिन छ । कमिलाको बानी हुन्छ चिल्ने । कमिलाहरू मानिसलाई निरन्तर चिलिरहेका छन् । मानिस ऐया–आथु केही भन्न सकिरहेको छैन । सहेर बसेको छ ऊ ।
केही वर्षअघिसम्म ‘तीन सहर’ नेपालका रूपमा चिनिने यो उपत्यकामा अहिले सामान्य मानिसको गतिमाथि प्रतिबन्ध लागेको छ । कम से कम दुई मिटरको ‘सोसल डिस्ट्यान्स’ मेन्टेन गरेर मानिससँग कुरा गर्नुपर्छ । मास्कले नाकमुख छोपेर मात्र हिँड्नुपर्छ सडकमा । सहरमा कोरोना महामारी फैलिएको यो समयमा मास्क नलगाएको मानिसलाई देख्नेबित्तिकै समात्नू भन्ने आदेश जारी गरेको छ । मानिस कोरोनासँग डराएका त थिए नै । अहिले त सरकारसँग पो डराउन थालेका छन् । सरकार नियमको मर्यादा नराखी हिँड्न पाइन्न भन्छ । मानिस ती मर्यादाहरूको खोजीमा हिँडेको छ । त्यसरी मर्यादा खोज्न हिँडेको मानिसलाई सुरक्षाकर्मीले सडकको छेउमा घण्टौं घेराबन्दी गरेर राख्छ ।
सहरमा आइसकेपछि यति कुरा थाहा पाइराख्नुपर्छ ः सहरमा मास्क लगाएर सास फेर्न सकिन्न । मास्क छेडेर सहरको हावा नाकको प्वालसम्म पुग्नै सक्दैन । हो, हात साबुन लगाएर मिचीमिची धुनुपर्छ । जो साबुन खरिद गर्न सक्दैनन्, तिनले आफ्नो हात खरानीले मस्काए हुन्छ कि हुँदैन ? साबुन नपाइने गाउँमा रिट्ठाको प्रयोग गरे हुन्छ कि हुँदैन ? यो कसैले सिकाएको पनि छैन । सहरमा स्यानिटाइजरको प्रयोग अनिवार्य छ । यिनै कारणले, सहर लामो समयदेखि गतिहीन भएको छ । यसले आफ्नो मौलिक आवाज गुमाएको छ । सहरमा अहिले जुन आवाज प्रतिध्वनित भैरहेको छ, त्यो आवाजको अर्थ कसैलाई थाहा छैन । त्यो आवाज अहिलेसम्म किन गुन्जिइरहेको छ ? त्यसको कारण पनि कसैले भेटेको छैन ।
यो सहरमा मानिसका जोडी मन लागुन्जेल डुल्ने गर्थे, कसैले फेला पार्नै नसक्ने गरी हराउने गर्थे । असीम मायामा निथ्रुक्क भिज्थे, लुटपुटिन्थे । त्यो चलन अहिले छैन । कस्तो विडम्बना कि, मायालुले खोक्दा पनि डराउनुपर्ने समय आएको छ !
यो कस्तो समय हो ? मनभित्र प्रश्नहरूको सिलसिलाबद्ध भीड छ । भीड पनि र सिलसिलाबद्ध पनि । मास्क लगाएको एउटा मानिस बजारको एउटा पसल अगाडि ठिंग उभिन्छ । उसलाई चुरोट चाहिएको छ । दुर्भाग्य कि साहूलाई चुरोटको नयाँ मूल्य नै थाहा छैन । त्यसका लागि साहूको छोरो नै आउनुपर्छ पसलमा । मास्क लगाएको मानिस साहूतिर पचास रुपैयाँको नोट हुत्याइदिन्छ । पछि कुनै बेला हिसाब मिलाउने सम्झौता हुन्छ उनीहरूका बीच । साहूले दुई खिल्ली चुरोट दिन्छ । मास्क लगाएको मानिस मास्क फुकालेर चुरोट सल्काउन मात्रै लागेको हुन्छ, कतैबाट अचानक दुई जना सुरक्षाकर्मी आइपुग्छन् । उनीहरू आफ्नै धुनमा चुरोट तानिरहेको मानिसको पाखुरा समात्छन् दुईतिरबाट । दृश्य देखेर, पसल वरिपरि उभिएका मानिस डराएका छन् । उनीहरू त्यहाँबाट उम्किन पनि खोज्दै छन् । उनीहरूमा चरम उत्सुकता छ– के हुन्छ यसपछि ? के गर्छन् यी सुरक्षाकर्मीले मास्क फुकालेर चुरोट तान्ने मानिसलाई ?
‘क्वारेन्टाइनभित्र बसेर चुरोट तान्न पाइन्छ ?’ सुरक्षाकर्मी–१ ले सोध्छ । चुरोट तान्ने मानिस अलमलिन्छ । उ सोध्छ– ‘क्वारेन्टाइन ?’
जवाफ सुरक्षाकर्मी–२ ले दिन्छ– ‘सरकारले यो पूरै काठमाडौं उपत्यकालाई खुला क्वारेन्टाइन घोषणा गरेको तिमीले सुनेका छैनौ ? त्यो घोषणा सबै टेलिभिजन, युट्युब, फेसबुक लाइभ र ट्विटरमा समेत देखाएको थियो त ! तिमीले देखेनौं ? तिमीलाई थाहा होला– सरकारले जनताको सुविधाका लागि अबदेखि बिहान मात्र होइन, दिउँसो र साँझसमेत पसल खोल्ने व्यवस्था मिलाएको छ । जोरबिजोर मिलाएर मोटरसाइकल चलाउने सुविधा पनि खुला गरेको छ । मोटरसाइकललाई ट्याक्सी बनाउनेको मोटरसाइकलचाहिँ जफत हुनेछ । जोरबिजोर नम्बरका आधारमा निजी सवारी चल्ने भएका छन् । चल्न नदिने भनेको ट्याक्सी र बसजस्ता सार्वजनिक सवारीलाई मात्रै हो ।’
चुरोट तान्ने मानिस वाल्ल परेर उनीहरूको कुरा सुनिरहेको थियो । ऊ अघिसम्म चुरोट तान्दै थियो । अहिले उसको हातमा चुरोट थिएन । उसले सुरक्षाकर्मीसँग सोध्यो, ‘किन समातेको मलाई ?’
सुरक्षाकर्मी–१ ले जवाफ दियो– तिमीले क्वारेन्टाइनभित्र चुरोट पिएकाले ।
‘कहिले पिएँ मैले ?’ चुरोट तान्ने मानिसले ठाडै झूट बोल्यो । उसले आफूवरिपरि उभिएका मानिसको समर्थन खोज्यो । मानिसहरूले मौन समर्थन गरे उसको । त्यसपछि उसले मास्क लगायो । उसको चाल देखेर सुरक्षाकर्मीहरू वाल्ल परे ।
सामान्य जनता रमाइलो मानेर हेर्दै थिए ः ओहो, सरकारले कसैलाई थाहै नदिई, कति चाँडै पूरै उपत्यकालाई क्वारेन्टाइन बनाइसकेछ !

 

सहर/रहर

मेड इन वीरगन्ज

एउटा वृद्ध, आफ्नो बाल्यकाल र युवाकालको सहर खोज्दै हिँडिरहेको छ । कसरी भेटिन्छ ?
- ध्रुवचन्द्र गौतम

 

कहिलेकाहीं म सोच्दछु, म कुनै ब्रान्ड भएको भए, मलाई लेखिँदो हो— मेड इन वीरगन्ज ।
यो ठनाइ हो, मेरो वीरगन्जप्रतिको भावात्मक लगावको । यो एकदम अकारण छैन । केवल विशेषांक वा विशेष मौकाका लागि प्रयोजनीय हुनेगरी लेखेको पनि होइन । यो ‘फिलिङ’ हो, सुरुदेखि अन्त्यसम्मको । प्रसंग आयो, त्यही ‘फिलिङ’ अभिव्यक्त भयो ।
म आज केही हुँ वा छु वा हुन सकेको छु भने, सबमा वीरगन्जकै देन छ ।
मेरो पहिलो लेख वीरगन्जदेखि थालियो । आज म आफ्नो लेखनको सातौं दशकमा हिँडिरहेको छु भने, वीरगन्जबाटै उठेको सानो भुमरी यहाँसम्म आइपुगेको हो । भावात्मकताले अचेल पुग्दैन भने मेरो नागरिकता वीरगन्जकै छ । वीरगन्ज, पर्सा नै छ, लेखिएको मेरो ठेगाना । बम्बई, पुना वा काठमाडौंमै बस्दा होस्, म धेरै वीरगन्ज जान मन पराउने व्यक्तिमध्ये एक हुँ ।
पहिलो कविता मात्र होइन, आफ्नो पहिलो कथा, पहिलो गीत र पहिलो नाटक वीरगन्जमै लेखें । त्यहींदेखि थालूँ ।
वीरगन्जमा सरस्वती पूजा धुमधामले मनाइन्थ्यो । मूर्ति दरभंगाबाट ल्याइन्थ्यो । स्कुलमा ध्वजापताका सजाइन्ज्यो । अघिल्लो दिनदेखि नै सिमी छिल्ने, आलु काट्ने अथवा बसीबसी भोलिपल्टको भोजमा उपयोगी हुने काम छात्रहरू गर्थे, हाँस्दै–खेल्दै–गाउँदै ः
जिसने कभी भी माड न पिया
वह मुरख काहेको जिया ।
जिसने न खाई राम तरोई
उसने जिन्दगी अपनी गँवाई ।
यस्तैयस्तै । यसमा छात्राहरू हुन्न थिए । छात्राहरू भोलिपल्टको भोजमा पसल बिछाएर थपीथपी ख्वाउनमा पूर्ण सक्रिय हुन्थे । तिनीहरू आफ्नो दुपट्टा जनैजस्तो तेर्सो लपेटेर, सलवार पिंडौलासम्म सारेर पहिले कहिल्यै नबोलेको छात्र–छात्रालाई पनि बेझिझक कर गरीगरी ख्वाउँथे । मलाई उनको त्यो रूप, दयालु र कोमल र अन्नपूर्णाजस्तो लाग्दथ्यो । सम्झँदा, अझै लाग्दछ ।
हाइस्कुल अर्थात् त्रि–जुद्ध हाई इंग्लिस स्कुलको तीन कक्षाको छात्र भएदेखि दससम्ममा हरसाल सरस्वती पूजा मलाई अत्यन्त विशेष लाग्दथ्यो, सबभन्दा भव्य । हाम्रो मूर्ति सबै स्कुल, रक्सौल हाइस्कुलभन्दा पनि राम्रो हुन्थ्यो । दुई दिन चल्ने महोत्सव थियो त्यो । भोलिपल्ट, विशाल जुलुसका साथ सिरसिया नदीमा मूर्ति सेलाउन लगिन्थ्यो ः
विद्या–दायिनीकी जय
वीणा–वाहिनीकी जय
सरस्वती माताकी जय
यी नारा लगाउँदा कहिलेकाहीँ नारा भट्याउनेको गला ‘रुँधेको’ पनि हुन्थ्यो । सेलाउने ठाउँ नजिक पुग्दा भावुकता झन् बढ्थ्यो । गला झन् रुँध्थ्यो, मूर्तिको अवसान हुन लाग्यो ।
सेलाएपछि प्रायः स्कुलमा पाँच दिनको छुट्टी घोषित गरिन्थ्यो, कुनै हेडमास्टरले कम गर्न चाह्यो भने, विद्यार्थी जोड गरेर पाँच दिन बनाइहाल्थे ।
सरस्वती पूजामा, दिनभरि त्यही दरभंगाबाट भाडामा ल्याएका त्यसबखतका हिन्दी फिल्मका रेकर्डहरू लाउडस्पिकरबाट घन्किरहन्थे । त्यसैको तालमा नभए पनि सुरमा म उछलकुद गरिरहन्थें । कैयौं सहपाठी हुन्थे मसित ।
अर्को झन् महत्त्वपूर्ण उत्साह थियो, बेलुकीको सांस्कृतिक कार्यक्रमको । कार्यक्रममा एउटा पूर्णांकी नाटक, विभिन्न प्रहसन र गीतहरू हुन्थे । हल त कहाँ पाउनु, स्कुलको खुला चउर नै दर्शकले खचाखच भरिएको हुन्थ्यो ।
मंडेश्वर, शंकरलाल जाटिया आदि राम्रा कमेडियन थिए ।
अलि पछि म पनि स्टेजमा गाउन थालें । गोपालजी नेपालीले मलाई त्यो मौका जुटाइदिएका थिए । मैले सुपेन्द्रका साथ एउटा युगल गीत गाएको थिएँ, ‘आजाद’ फिल्मको ः
कितना हँसी है मौसम
कितना हँसी सफर है,
साथी है खुबसुरत
ये मौसम को भी खबर है ।
यही मेरो पहिलो सार्वजनिक अथवा स्टेज पर्फमेन्स थियो ।
सुपेन्द्रबहादुर श्रेष्ठ मभन्दा राम्रो गाउँथ्यो । उसले फिमेल स्वरको प्रतिनिधित्व गरेको थियो, मैले मेलेको । आवाज दुवैको पातलो थियो । यी सबको तारतम्य, पछिसम्म संगीत विभागको जिम्मा समालेका भरत दाइ र हरि दाइले मिलाउँथे । भरत दाइ हार्मोनियम र ढोलक बजाउँथे । लक्ष्मण, झन् उत्साहले बजाउँथ्यो । उसले ढोलक बजाएको मलाई सुन्न मजा लाग्दथ्यो । गीत चल्तीको छ भने ऊ झन् मच्चिएर आफ्नो कला देखाउँथ्यो । मलाई उसले ढोलक बजाएको अझै याद छ ।
त्यही ‘पर्फमेन्स’ का साथ, भोलिपल्टदेखि वीरगन्जमा म चिनिन थालें, कलाकारका रूपमा । गायनमा पुरस्कार त्यहाँ मैले कहिल्यै पाइनँ तर मेरा प्रशंसक भने निकै मानिस बने । कति वर्षपछि मैले मेरी श्रीमतीकी दुइटी साथीकी आमासित भेटें, जो मेरै ‘अथेन्टिक फ्यान’ रहिछन् तिनताक । ती आफ्नो घरनजिकको कार्यक्रम छाडेर आउँथिन् । छोराछोरीको भनाइ थियो, ‘यो आमा आँधी–पानी जे आए पनि, सब काम छोडेर हाइस्कुलको कार्यक्रम हेर्न जान्थ्यो, खालि ध्रुवचन्द्र दाइको गीत सुन्न ।’ यस्ता केही अरू पनि थिए, विस्तारमा नजाऊँ । दर्शक/श्रोताको त्यो ‘वाहवाही’ नै मेरो इनाम हुन्थ्यो ।
धेरै वर्षपछि म लेखनमा लागेर ‘मदन पुरस्कार’ पाएपछि, वीरगन्जमा मेरो पुरानो एउटा सहपाठी भेट भयो । भन्यो, ‘तुम तो पहले बहुत एक्टिभ थे, उतना अच्छा गाते थे, अब क्या हो गया सब ?’
म के भन्थें, मुसुक्क हाँसेर, ‘ऐसा ही है’ भनेर हिँडें । त्यसबखतका यी सम्झनाहरू मूल्यवान छन् । सारा वीरगन्ज मलाई चिन्थ्यो मात्र होइन, माया पनि गर्थ्यो । केही समयपछि, एक वर्ष मैले गाइनँ, सम्भवतः ०१५ सालमा । आवाजमा परिवर्तन आउँदै थियो मेरो ।
मोटो र मसिनो स्वरको मिश्रण हुन थालेको थियो ।
०१६ सालमा मैले एउटा मौलिक नेपाली गीत लेखेर वीरगन्जको त्यही स्टेजमा गाएँ । धुन पनि मेरो, शब्द पनि मेरो ः
मनमा राखी तिमीलाई
म तिम्रो पूजा गरूँला ।
यो एउटा लामो, छ स्टेन्जाको गीत थियो । बिनासंगीत गाइएको । तैपनि श्रोताले मन्त्रमुग्ध भएर सुनेपछि म निकै उत्साही भएँ । पछि अन्य कैयौं मौलिक गीत लेखें र बिनाबाजा–ढोलक गाएँ । सबैलाई त्यही मन पर्‍यो । केटा र केटी पनि ती मेरा मौलिक नेपाली गीतहरू गाउन थाले । त्यो पनि मेरो जीवनको पहिलो घटना थियो ।
०१८ सालमा, मैले एउटा नाटक लेख्न चाहें, लेखें । तर, त्यसमा समस्या के थियो भने, स्त्री पात्र पाइन असम्भवजस्तै थियो । पाइँदा पनि हुन् । तर कति अघि एक नाटकमा बहिनी बनाइएकी नायिका, वास्तविक जीवनमै नायकसँग हिँडिदिएपछि, केटीहरू ‘हच्के’ !
मैले के मनमा आएर हो भनिदिएँ, ‘केटीहरू खेल्छन् भने, म एउटा केटीकेटी मात्र पात्र भएको नाटक लेख्छु ।’
के लेख्छु, त्यो मलाई ज्ञान थिएन, आँटचाहिँ थियो । केटीहरूले आ–आफ्नो घरघरमा सोधे । लगभग एक दर्जन केटीहरूले खेल्न माने ।
म उत्साही भएँ । विषयवस्तुदेखि लेखनसम्म, कुमालटोलको छतमा बसेर चार घण्टामा सकें ।
एउटा नाटक सकें । नाउँ राखें, ‘पिकनिक’ । धेरै नभनूँ । त्यसमा आयोजकहरू यति सजग थिए कि सुरक्षाको दृष्टिले होला, कतैकतै कार्यक्रमको टाँस्ने गरेको पोस्टर पनि त्यस वर्ष टाँसिएन । तर, तैपनि, ‘माउथ पब्लिसिटी’ ले होला, दर्शक यति आए, जसलाई ‘नभूतो नभविष्यति’ यसमा चाहिँ निर्धक्क भन्न सक्छु । वीरगन्जको सांस्कृतिक कार्यक्रममा न त्यति दर्शक पहिले कहिल्यै जम्मा भएका थिए न पछि, कहिल्यै भए । त्यत्रो चउरमा नअटाएर पर्खाल, रूख, जहाँबाट मिल्यो, हेरे, नाटक मन पराए पनि त्यत्तिकै । आकर्षण पनि हुँदो हो, केटीकेटीले खेल्ने नाटक ? वीरगन्जमा पहिलो घटना थियो नि त ! ती नयाँ केटीहरूले पनि सोचेभन्दा राम्रो अभिनय गरे । मसमेत, स्व. बलरामसिं मल्ल र मणिराम निर्देशक थियौं । म केटीहरूलाई रिहर्सलमा अभिनय सिकाउँथें पनि । ‘पिकनिक’ खेल्ने वा हेर्नेको स्मृतिमा होला, तर अब त्यसको अस्तित्व इतिहासको गर्भमा छ । मलाई अझै ताजा किन छ भने, त्यही मैले लेखेको
आफ्नो जीवनको पहिलो नाटक थियो । त्यो अप्रकाशितै रहे पनि मनमा प्रकाशित छ ।
दसैंमा माईस्थानको मेला अष्टमीका दिन लाग्दथ्यो । त्यसो त नवरात्रभरि, ब्राह्म मुहूर्तदेखि नै पशुपति उस्तादको हार्मोनियममा बज्न थालेको ‘भैरवी’ ले मलाई सधैं तानिरहेको हुन्थ्यो । त्यो सुन्नु अत्यन्त आकर्षक लाग्दथ्यो । भजन गाइन्थ्यो । मेलाको दिन रक्सौलदेखि नै स्त्री–पुरुषको लर्को अटुट लागेको हुन्थ्यो । म नयाँ सिलाएको कमिज–पाइजामा शीत लाग्छ कि भनेर बेलोबलामा, अलिकति पाइजामा मास्तिर सर्काउँदै हिँड्थें । खल्तीमा एकमोर–दुवन्नी–चवन्नीसम्म छ भने सिटी, डुगी, फुकौना, लामो खरिदारी हुन्थ्यो मेरो । घर पुग्दा खेलौनाले ‘लदाफँदा’ पुग्थें । केही टुटफुट पनि भइसकेको हुन्थ्यो ।
छठपर्वको मेला घडिअर्वा पोखरीको छेउमा लाग्दथ्यो । आजको जस्तो भव्य सूर्य–रथ त्यसबखत थिएन, तर त्यो ‘प्रबनी’ सबभन्दा पवित्र लाग्दथ्यो । त्यसपछि ठेकुवा पर्सादी खान पाइन्थ्यो, जुन मलाई आज पनि मीठो लाग्दछ ।
हामी घुम्ने अर्को एउटा मुख्य ठाउँ थियो वीरगन्ज रेल्वे स्टेसन । रेल चढ्ने र छुट्नेहरूमा परिचित पनि भेटिँदा रमाइलो हुन्थ्यो । रेल हिँडेको, थामिएको, इन्जिनले पानी ख्वाएको हेर्नु मलाई रमाइलो लाग्दथ्यो । कहिलेकाहीं, हामी केटाकेटी कुमालटोलका युवाहरूको समूहमा रक्सौल, ‘कृष्णा टाकिज’ सिनेमा हेर्न यही रेल, एनजीआरमा पनि जान्थ्यौं, डब्लूटी गएर पक्डाउने डरले, एउटा मोडमा रेलको गति कम हुन्थ्यो, त्यही मौकामा, यति यात्रु ओर्लन्थे कि, कहिलेकाहीं त रेल लगभग रित्तिएर पुग्थ्यो रेल्वे स्टेसन ।
वीरगन्ज, मैले थाहा पाएदेखि नै नगरपालिका थियो । त्रिजुद्ध स्कुल एक मात्र हाइस्कुल थियो त्यताको, जसका विद्यार्थी एसएलसी बोर्डमा, प्रथम पनि भइरहन्थे । बोर्डमा दसमा आउने त धेरै हुन्थे ।
सडक तीन भागमा बाँडिएको थियो, जसलाई फर्स्ट, सेकेन्ड र तेस्रो जिनतिन थर्ड रोल भनिन्थ्यो । फर्स्ट रोड नै पनि ग्राबेलको थियो, जसमा बेलाबखत सडक सम्याउन रोलर चलिरहन्थ्यो । त्यसलाई हेर्न पनि उत्सुक रहन्थें । तिसरी घण्टीतिर आउँथ्यो, सिनेमाको विज्ञापन, एउटा टिनको ढ्वाङ मुखमा टाँसेर लंगडा खोच्याउँदै कराउँथ्यो, ‘आज की रात देखिए कीर्ति सिनेमा के रुपहले पर्दे पर मुनरिया का छमछम डान्स...।’ यस्तैयस्तै । यसलाई त म कुरिरहन्थें । एउटा केटो सिनेमाको पोस्टर बोकेर हिँड्थ्यो । त्यो हेर्न र लंगडाको पुकारको विशेष शैली सुन्न मलाई मन पर्थ्यो । क्लासमा पढाइरहेको ‘माडसाप’ आफ्नो ठाउँमा थियो । पढाइमा त ध्यान जानु थियो, न जान्थ्यो ।
अहिले त वीरगन्ज उपमहानगरपालिका हुँदै, महानगरपालिका नै भएको छ । अब वीरगन्ज यति विकसित छ कि मलाई, पुराना गल्लीहरू चिन्न र आफू हिँडेका त्यसबखतका ठाउँहरू पहिल्याउन लगभग असम्भवजस्तै छ, आफैंलाई अलि हास्यास्पदजस्तो पनि लाग्दछ । एउटा वृद्ध, आफ्नो बाल्यकाल र युवाकालको सहर खोज्दै हिँडिरहेको छ । कसरी भेटिन्छ ?
केही पुराना मानिस भेटिन्छन्, जस्तो मेरै सहपाठी परशुराम सरावगी, तुलेन्द्र, सुपेन्द्र आदि । पुरस्कार नपाए पनि सान्त्वना पुरस्कार त हो नै पुराना साथीभाइ र केही अवेशष भए पनि
आफ्नो बेलाका सडक गल्लीहरू भेटिनु । पहिलेभन्दा वीरगन्ज मौलिक मात्र होइन, बौद्धिक रूपमा पनि विकसित भएको छ । पत्रकारितामा र साहित्यमा पनि । खेलकुदमा वीरगन्ज पहिलेदेखि नै सक्रिय हो । उहिल्यैदेखि ‘ब्यारेक ग्राउन्ड’ मा फुटबल आदिको आयोजना हुन्थ्यो । कति मेरा प्रिय फुटबलर थिए । तिनमा रूपालशमशेर त अब्बल दर्जाका राष्ट्रिय खेलाडी भए ।
अहिले मेरो वीरगन्जमा कोही पनि छैन त भन्दिनँ, दाइहरूको परिवार त्यहीं छ, बेलाबेलामा गइरहन्छु । केही पुराना साथीभाइ भेटिन्छन्, सहरका पुराना अवशेष भेटिन्छन् । तर, केही पनि हैनचाहिँ भन्न सक्छु ः ‘रहने को घर नहीं है/सारा जहाँ हमारा’ भनेजस्तै । तर, एउटा कुरा फेरि यति तगडा रूपमा छ कि, त्यसले मलाई वीरगन्जसँग सधैं जोड्छ । स्मृति, जुन कसैले खोस्दैन, चोर्दैन, हर्दैन तर यसैभित्र छ, वीरगन्जबाट मैले पाएका देनहरूको संग्रहालय पहिलेको हाइस्कुलको चउरको दर्शक जत्तिकै खचाखच भरिएको ।
यसरी भइएन त ः मेड इन वीरगन्ज ?

 

Page 7
फिचर

ग्रिनरुमका 'हरिया' सम्झना

- सरिता गिरी

 

ग्रिनरुम त्यो ठाउँ हो, जहाँ कलाकारहरू रङ्गमञ्च छिर्नुअघि बस्छन्, शृङ्गार गर्छन् र नाटक नसिद्धिउन्जेल ओहोरदोहोर गरिरहन्छन् । दर्शकले नाटक सम्झिएलान्, अभिनय सम्झिएलान्, तर ग्रिनरुम ? कसले सम्झिएलान् ग्रिनरुमलाई ? अनगिन्ती सम्झनाका साक्षी ग्रिनरुमलाई ?
ग्रिनरुमलाई किन ग्रिनरुम भनिन्छ भन्ने प्रश्न इतिहासमा कतै हराइसक्यो । विभिन्न मानिसका फरक मत छन् यसमा । सबभन्दा पुरानो कहानीचाहिँ यस्तो छ– सन् १५९९ मा लन्डनको ब्ल्याकफ्रायर्स थिएटरमा मञ्चपछिल्तिर एउटा कोठा थियो, जहाँ संयोगवश हरियो रंग पोतिएको थियो । मञ्च प्रवेश गर्नुअघि कलाकारहरू यहाँ आफ्नो पालो पर्खिन्थे । यो ग्रिनरुम कहलियो । तर, देशविदेशमा नाटक लिएर जाँदा मैले कुनै पनि थिएटरमा ग्रिनरुममा हरियो रंग पोतिएको वा हरिया पर्दाहरू झुन्ड्याएको देखिनँ ।
नाटकको इतिहासको प्रारम्भिककालमा प्रोसिनियम थिएटरको अवधारणा आइसकेकै थिएन । नाटक, खुला ठाउँमा हुने गर्थ्यो । त्यतिखेर कहाँ हुन्थ्यो होला ग्रिनरुम ? तर, त्यसको हजारौँ वर्षपछि हामीले नाटक गर्ने बेलासम्म ग्रिनरुम थिएटरको अभिन्न अंग बनिसकेको छ । र, मेरा लागि ग्रिनरुमको आफ्नै अनुभूति छ, अनुभव छ ।
गुरुकुलमार्फत बंगलादेश जाँदा मञ्चको पछाडिपट्टिका दुईवटा कोठालाई ‘यो तिमीहरूको ग्रिनरुम हो है केटाकेटीहरू’ भन्ने वाक्य सुनेपछि ग्रिनरुमसँग मेरो पहिलो साक्षात्कार भएको हो । त्यसअघि शब्द मात्र सुनेकी थिएँ । अंकल वीरेन्द्र हमालसँग जीवनकै पहिलो नाटक ‘पत्थरको कथा’ गर्दा पोखराको नाटकघरमा ग्रिनरुम कहाँ थियो पत्तो पनि भएन, त्यसको अर्थ बुझ्नु त परै जाओस् ! ग्रिनरुम मेरा लागि मात्र एउटा कोठा थियो, जहाँ मेकअप गरिन्थ्यो र लुगा फेरिन्थ्यो ।
सन् २००२ मा गुरुकुलको सम नाटकघर सञ्चालनमा आयो । तर, ग्रिनरुम तयारी अवस्थामा थिएन । हामी मञ्चको पछाडि हतारहतार लुगा फेर्थ्यौं, दाईहरूलाई ‘यता नहेर्नू’ भन्थ्यौँ कि ‘आँखा चिम्लनू’ भन्थ्यौँ । ग्रिनरुम ओपन–रूम थियो, मञ्चको पछाडिपट्टिको भागलाई ग्रिनरुम भनेर छुट्याइएको मात्रै थियो । लुगा फेर्दा बडो तनाव हुन्थ्यो । डेनमार्कर मस्कोमा नाटक देखाउन जाँदा ग्रिनरुममा विदेशी कलाकारहरू निस्फिक्री लुगा फेरिदिन्थे । कसैले कसैको कुनै मतलब गर्दैनथ्यो । तर, हाम्रो समाजमा त्यस्तो आँट छैन र चलन पनि । अझै पनि ग्रिनरुमको कालो पर्दाको बीच भागबाट देखिन्छ कि भनेर सेफ्टीपिन लगाउँछौँ हामी ।
बहरामपुरको याद आयो हठात् । रेलमा त्यो पहिलो यात्रा थियो मेरो । रेलयात्रामा पाएको मायालु स्पर्श अहिले पनि म महसुस गर्न सक्छु । पहिलोपटकको रेलयात्रामा कसैले मलाई कसैले नदेख्ने गरी स्पर्श गरेर गएको थियो । त्यो ठाउँ ग्रिनरुम थिएन, रेलको ढोकामा म कसैको व्यग्र प्रतीक्षामा थिएँ, ऊ हावाको झोँक्काझैँ आयो र मेरो कानमा साउती मारेर त्यही हावाकै झोँक्कामा फुर्र उड्यो । खोइ कोही थियो कि थिएन ? थियो भने पनि मेरो मानसपटलमा अब त्यसको धमिलो छवि मात्रै बाँकी छ ।
मन बहरामपुरमै छ अहिले । त्यहाँका ग्रिनरुममा कलाकारहरूका तस्बिर झुन्ड्याइएका थिए । मेरा आँखा तस्बिरहरूमा नाच्न थाले । मेरो मनमा एउटा प्रश्न आयो– यहाँ यी श्यामश्वेत तस्बिरहरू किन छन् ? वर्षौँअघि ती तस्बिरमा भएका नाटकका पात्रहरूले यस ग्रिनरुममा कस्ताकस्ता रंगीन सपनाहरू देखेका थिए होलान् ? कतिका मिठा सम्बन्ध जोडिए होलान्, भत्किए होलान् ! भविष्यमा एउटा राम्रो कलाकार बन्छु भनेर सपना देख्दादेख्दै त्यो सपना पूरा नभई आजसम्म पनि दाह्री, कपाल सेतै फुलुन्जेल सानोतिनो भूमिकामै चित्त बुझाएर अझै त्यही ग्रिनरुमको ऐना हेर्दै होलान् ।
बहरामपुर स्मृतिबाट गएको छैन अझै । रवीन्द्र भवनको ग्रिनरुममा मन डुलिरहेको छ । अलि नोस्टाल्जिक भएकी छु । शो थियो ६ः३० मा । सबै व्यस्त थिए, कोही स्क्रिप्ट पढ्दै, कोही लुगा मिलाउँदै, कोही ढ्याङ्ग्रो ठोकेर झाँक्रीको अभ्यास गर्दै । रवीन्द्र भवन ढ्याङढ्याङले गुञ्जायमान थियो । बिस्तारै ग्रिनरुममा पछाडिबाट मेरो कुममा कसैको स्पर्श पर्‍यो । म एकछिन त आत्तिएँ । ओहो, ऊ पो ? फेरि त्यही हावाको झोँक्का र भर्खरै मैले बालेको धूपको सुगन्धले म एक छिन कहाँ हराएछु ! ऊ पनि त्यो कालो पर्दाभित्र कहाँ हरायो ! मधुरो स्वर भन्दै थियो, ‘नडराऊ है, म तिम्रो साथमा छु, तिमीसँगै छु ।’ मैले बिस्तारै हात हल्लाउँदै ‘हस्’ भनेँ । उसको मन्द मुस्कान र स्पर्शले ममा जिन्दगी अटाएको थियो । निशा दिदीले ‘ओइ सरिता धूप कहाँ राखेकी छस् भरेका लागि ?’ भनेको सुनेपछि म झसंग भएँ । म त त्यो ग्रिनरुमसँगै जोडिएको मञ्चपछाडिको कालो पर्दाभित्र रंगीन सपना पो देख्दै रहेछु । सौगातले बजाएको ढ्याङढ्याङ अझै मेरो कानमा गुन्जी नै रहेको थियो ।
ग्रिनरुम त्यस्तो ठाउँ हो जहाँ कलाकारहरू एकअर्कालाई कति सम्मान र प्रेम गर्छन् भन्ने भेद खुल्छ या भनूँ कलाकारहरूको असली अनुहार ग्रिनरुममा देखिन्छ । मेरो कानमा आवाज र आँखामा चित्र आउँदै छन् यतिखेर, ‘सरिता, मेरो सुरुवालको इँजार खोइ ?’, ‘मेरो जुँगा खोइ ?’, ‘त्यो खोइ ? यो खोइ ?’ मलाई सबैले खोज्नुको कारण वेशभूषा र प्रप्सको जिम्मा मैले लिएकाले थियो । त्यसैले ती आवाज प्रिय लाग्थे मलाई । ग्रिनरुममा मैले कहिले स्नेह पाएँ, कहिले गाली खाएँ । कहिले आँसु झरे त्यहाँ, कहिले खुसीले रुझेँ त्यहाँ । आज पनि ती आवाजहरू गुन्जिँदा होलान् त ग्रिनरुमहरूमा ?
ग्रिनरुम कलाकारहरूको चरित्रको पनि साक्षी हो । तर, ऊ बोल्दैन । बाहिर जति दयालु, मायालु भए पनि ग्रिनरुममा पुगेपछि कुन कलाकारको अहं कति बढ्यो ग्रिनरुमलाई थाहा हुन्छ । त्यो मञ्चको पात्रभन्दा बिलकुलै फरक हुन्छन् ग्रिनरुममा कलाकारहरू । आफ्नो स्वभाव र चरित्र ग्रिनरुममै थाती राखी कलाकारहरू मञ्चमा उत्रन्छन्, मञ्चबाट फर्किएपछि एउटा अर्कै आवरण ओढेर ग्रिनरुमबाट बाहिर निस्कन्छन् । यो ग्रिनरुमले बुझेको कुरा हो ।
मन फर्केर गुरुकुलको ग्रिनरुममा आएको छ । यहाँको ग्रिनरुममा भने कालो रङको पर्दा छ । नाटक हुँदै छ । कलेजी र पहेँला थरीथरीका चीबर ह्याङ्गरमा झुन्ड्याइएका छन् । यहाँ पनि जीवन र चरित्रका रङ र ग्रिनरुमका रङहरूबीच विरोधाभास देख्छु म । कालो रङले अहं र चुरीफुरीलाई शान्त पार्नुपर्ने हो नि ! ग्रिनरुमले पनि शान्त पार्नुपर्ने हो नि ! तर... ! ग्रिनरुममा चीबरधारी पात्रमध्ये एक म पनि थिएँ । मभित्र पनि कुनै बेला अहं नजागेको होइन । मेरो कारणले त्यो ग्रिनरुममा कसैको मन भत्किएको, टुटेको पनि छ होला । कोही त्यो भित्तामा शिर अड्याएर सँॅक्कसँॅक्क रोएको छ होला । त्यो ग्रिनरुममा कसैकसैले सँगै मर्ने–बाँच्ने कसम खाएका थिए होलान् । लुकीलुकी चुरोट, गाँजा, रक्सी खाएका होलान् । हामीले देखेका सपना अब त त्यसै कतै होलान्, मन नमिल्दा ग्रिनरुममा बसेर गरेका झगडा र गोलभेंडाजस्ता आँखा राताराता पार्दै बाहिर निस्केको अनि ग्रिनरुमको ढोकैमा पुगेपछि ‘अघिका लागि सरी नरिसाऊ’ भन्ने संवाद अब कहाँ गुन्जिन्छ होला ? मनमा ? किनभने ती माया, घृणा, दुःख, पीडा त्यही ग्रिनरुमको ढोकामै छाडिन्थे ।
ग्रिनरुम त्यति मात्र होइन । यो चुक्ली लगाउने, कुरा काट्ने र हात हालाहाल हुने ठाउँ पनि हो । ग्रिनरुम सबैथोक हेरेर बस्नेबाहेक केही गर्न पनि सक्दैन । मञ्चमा सारा मोह त्याग गरेको भिक्षुको भूमिका निर्वाह गरिरहेको चरित्र ईर्ष्याले निस्सासिएर चुक्ली लगाउँदै गरेको भेटेकी छु मैले । मञ्चमा रिसाही र खलनायिकाको भूमिका भर्खरै सिध्याएर आएकी पात्रबाट ग्रिनरुममा स्नेहको वर्षा भएको पनि देखेकी छु मैले । घमण्ड, रिस, राग, लोभ, प्रेम र घृणा त्यागेर मञ्चमा उत्रने कलाकारहरू ग्रिनरुममा फर्किर्एर फेरि ती गुणका जामा ओढेर घर जान्थे भने कोही फुकालेर जान्थे ।
मञ्चमा जतिसुकै शक्तिशाली भए पनि ग्रिनरुममा पुगेपछि त्यो कलाकार सामान्य अवस्थामा फर्किन्छ । ग्रिनरुमले सबै देख्छ, तर बोल्दैन । मायाले छोएका हातहरू, मञ्चमा जानुअघि एकआपसलाई अंगालो मारेर ‘ल राम्रो गर्नू’ भनेका शुभेच्छाहरू, नाट्यश्वरीलाई सम्झेर धूप बालेर एकर्कालाई गरिएका अभिवादनहरू सबै ग्रिनरुमभित्रै हुन्छन् । साक्षी ग्रिनरुम हुन्छ ।
यतिखेर यौटा प्रश्न खेल्दै छ मनमा– मैले खेलेका नाटकका पात्रहरूले ग्रिनरुममा त्यही पात्र भएर बस्न पाए कि पाएनन् ? पाएनन् । सायद यो सबै कलाकारको नियति पनि हो । मानौँ, म रानीको भूमिकामा थिएँ कुनै नाटकमा । रानीको आभूषण, परिधानमा रवाफपूर्वक मञ्चमा भर्खरै देखा परेकी म, एक छिन ग्रिनरुममा आएर बसेकी हुन्थेँ । त्यति नै खेर कुनै सकहर्मी या सिनियरलाई केही सामानको आवश्यकता पर्थ्यो अनि ‘सरिता त्यो सामान खोइ ? त्यो लुगा खोइ ?’ भनेको गुन्जिन्थ्यो ग्रिनरुममा । भर्खरै रानी थिएँ, अहिले सुसारे भएँ । मञ्चकी रानीले आफ्नो भूमिका त्यतिखेर बिर्सेकी हुन्थी । अर्थात् मञ्चमा जति नै रोबदार भूमिका पाएको कलाकार पनि ग्रिनरुममा अर्कै हुन्थ्यो– कहिले आफ्नो सामान खोजिरहेको, कहिले सामान मिलाइरहेको, के–के सम्झिएर सिगरेट तानिरहेको । मञ्चको रोब ग्रिनरुममा गायब ! पात्रजस्ता खाले भए पनि नाटक सकिएपछि एक समयपछि ती पात्रहरूलाई बिर्सेर अर्को पात्रलाई ग्रहण गरिन्छ, तर जीवनका वास्तविक पात्रहरूलाई चाहेर पनि किनारा लगाउन नसकिने रहेछ ।
हामी आधाभन्दा बढी समय ग्रिनरुममा बिताउँछौं ।
आफ्ना सारा दुःख, पीडा, खुसी, भौतिक कुराहरूलाई बिर्सेर ‘तिमी को हौ ? के गर्दै छौ ?’ भन्ने सारा प्रश्नको जवाफ ग्रिनरुमका ठूल्ठूला ऐनाले बताइदिन्छ, सुन्ने हो भने । त्यसैले त म घण्टौँ ग्रिनरुमको ऐनाअगाडि बसेर समय बिताउँथेँ । ग्रिनरुमसँगै मैले निर्वाह गरेका चरित्रहरूको सम्झना पनि आउँछ । म कहिले भिक्षुणी बनेँ, कहिले विरहिणी, कहिले प्रेमी, कहिले के त कहिले के ! कहिलेकाहीँ लाग्छ, ती चरित्रहरू अझै पनि भत्किएका र बनेका ग्रिनरुमहरूमा एक्लै बसेर गीत गाइरहेका होलान्, प्रेमीलाई कुरिरहेका होलान् । र, मैले निर्वाह गरेका कति पात्रहरू डेनमार्क र मस्कोका ग्रिनरुममा अझै पनि निर्बाध भौँतारिरहेका होलान् ।
समयसँगै विभिन्न चरित्र खेल्छ कलाकारले, उसका निम्ति रंगमञ्च बदलिन्छन् । तर, ग्रिनरुमको ट्रान्जिटमा रहने सबै कलाकारको स्वरूप उस्तै हुन्छ– लुगा फेर्दै गरेको, मनमनै सम्वाद घोकिरहेको, शृङ्गार गरिरहेको, साथी कलाकारलाई सघाइरहेको । मञ्चमा राजा भएर सबलाई थर्काइरहेको पात्र ग्रिनरुममा बिँडी खाइरहेको भेटिन सक्छ । आफूले गरिरहेको नाटकमा आफ्नो भूमिका कण्ठ हुने अधिकांश कलाकारलाई ग्रिनरुमले लेखेको, देखेको र महसुस गरेको कहानी पत्तै नहुन सक्छ ।
ग्रिनरुमभित्र पोखिएका प्रेम, विरह, आत्मीयता, गुनासो कसैले याद गर्ला–नगर्ला, कसैलाई याद होला–नहोला, मलाई याद छ । साथी कलाकारहरूसँग झगडा, मिलाप, कुरा कटाइ, कुरा मिलाइ, प्रेम र विरहका थुप्रै एकाङ्की नाटक त्यहाँ मञ्चन भएको याद छ । ती मेरा अन्तरंग सम्झनाहरू हुन् । म सबैलाई सबैथोक सुनाउन पनि सक्दिनँ । खुसीको कुरा, ग्रिनरुमले पनि भन्दैन । किनभने ऊ कलाकारहरूको वास्तविक चरित्र थाहा पाएको एउटा साक्षी हो– मूक साक्षी ।
(लेखक रंगकर्मी हुन्)

फिचर

खोइ के–को छटपटी !

डिलनले आठ वर्षको अन्तरालपछि गत मार्चमा अकस्मात् १७ मिनेट लामो ‘मर्डर मस्ट फउल...’ गीत रिलिज गरे । गीतमा हत्या, सन्त्रास र सर्वनाशका विषय सरसर्ती गाइएको छ ।
- सजना बराल
सन् २०१२ पछि बब डिलनले हालै आफ्नो ३९ औं एल्बम ॅरफ एन्ड राउडी वेज’ सार्वजनिक गरेका छन् । तस्बिर ः एएफपी

गीत–संगीतमा सान्दर्भिक/असान्दर्भिक भन्ने नै हुँदैन सायद । यहाँ जे पनि, जहिले पनि सान्दर्भिक ! अमेरिकी संगीतज्ञ बब डिलनलाई कोरोना चलिरहेकै बेला आफ्ना पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी गीत सार्वजनिक गर्नु सान्दर्भिक लागेछ । डिलनले आठ वर्षको अन्तरालपछि गत मार्चमा अकस्मात १७ मिनेट लामो ‘मर्डर मस्ट फउल...’ गीत रिलिज गरे, जसमा हत्या, सन्त्रास र सर्वनाशका विषय सरसर्ती गाइएको छ ।
क्वारेन्टाइन र आइसोलेसनमा थुनिएका उनका श्रोताका लागि त्यही एउटा लामो गीत प्रिय खुराक बनिसकेको थियो । पियानो र भायोलिनको एकसरो धुनमा डिलनले दिएका सांस्कृतिक, ऐतिहासिक रिफरेन्ससहितको गीतले श्रोतालाई घरभित्रै बस्न साथ दिएकै थियो । तर, डिलनलाई त्यतिले मात्रै पुगेन । हप्ता/बीस दिन बिराउँदै, खै केको छटपटीले हो, उनले ‘फल्स प्रोफेट...’ र ‘आई कन्टेन मल्टिट्युड्स...’ बोलका गीतहरू सार्वजनिक गरे । र, अन्त्यमा जुनटिन्थको अवसर पारेर हो या संयोगवश गत जुन १९ मा ‘रफ एन्ड राउडी वेज’ एल्बम निकालेपछि मात्रै उनी शान्त बसेका छन् ।
शान्त पनि के भन्नु, यसपालि डिलनले सञ्चारमाध्यमलाई विरलो अन्तर्वार्तासमेत दिए ।
दुनियाँ रोगसँग जुधिरहेका बेला यी नोबेल पुरस्कारधारी धमाधम के गाइरहेका छन् ? थाहा त सबैलाई छ, उही कवितामय गीत हो ! तर, यसपालिका उनका रचना जुन समय र परिस्थितिमा बाहिर आएका छन्, के वर्तमानसँग तिनको कुनै तादात्म्य छ ? यसबारे जान्न गीतै सुन्नुपर्ला, बुझ्नुपर्ला । यति हो उनी भन्छन्, ‘कवि विलियम ब्लेकले झैं म अनुभवका गीत गाउँछु, मैले क्षमा माग्न बाँकी छैन... ।’ (द न्युयोर्क टाइम्स) ।
डिलन आफ्ना गीतमा जीवनी, इतिहास, अध्यात्म, लोककथाहरू मिसाउँछन् । त्यस्तै जोन लेननले शान्ति, अहिंसा, समानता, एकताको पक्षमा गीत गाए । बब मार्लीको आवाजमा गरिबी, दमन, अन्यायविरुद्धको राग सुनिन्छ । उनीहरू सबैले सायद आफ्नो समयको अप्ठ्यारो गीतमार्फत अभिव्यक्त गरेका थिए/गरिरहेका छन् । तर, ती अप्ठ्यारासँग अहिलेको अप्ठ्यारो कसरी मिल्न सक्छ ? अहिले मानवीयभन्दा पनि प्राकृतिक अप्ठ्यारोसँग हामी लडिरहेका छौं । यो अप्ठ्यारोसँग जुध्न किन अप्ठ्याराका पुराना गीत सुनिएका/गाइएका होलान् ?
बेलायती रक ब्यान्ड ‘क्विन’ का गिटारिस्ट ब्रायन मेले सन् १९७७ मा लेखेको गीत ‘वी विल रक यु...’ को भित्री कथा कतिलाई थाहा होला ? त्यसबेला उनले एसिया र अफ्रिकी देशहरूमा उन्मूलनको क्रममा रहेको बिफर रोगलाई छोएर उक्त गीत पक्कै लेखेका थिएनन् । गीतको भाव/शैली हेर्दा यसलाई रोगसँग जोड्नु अमिल्दो मात्रै होइन, हास्यास्पद लाग्छ । रोग–व्याधिसँग थोपै सम्बन्ध नभएको यो गीत अब भने अपत्यारिलो ढंगमा सम्बन्धित हुन पुगेको छ ।
इराकका संगीतप्रेमीमाझ ‘वी विल रक यु...’ कोरोना–गानका रूपमा चर्चित छ अहिले । रोगसँग तिनले यो गीतको साइनो गाँसिदिएका छन् । बीबीसीले विश्वका ४० देशका आफ्ना १ सय साझेदार रेडियो स्टेसनलाई तिनले लकडाउन अवधिमा सर्वाधिक बजाइरहेका गीतबारे सोधेको रहेछ । बग्दादबाट प्रसारण हुने रेडियो–वानका प्रस्तोता मुस्ताफाले ‘वी विल रक यु...’ उल्लेख गर्दै उक्त गीत हाल आफूहरूको एन्थम (राष्ट्रगानजस्तै) भएको
बताएका छन् ।
‘क्विन’ मात्रै होइन, बब मार्लीकै ‘राइड नेटी राइड...’, जोन लेननको ‘इम्याजिन...’, डेभिड बोवीको ‘किलिङ अ लिटल टाइम...’ जस्ता गीत पनि कोरोना महामारीका बेला मान्छेहरूले खुब सुनिरहेको बीबीसीमा प्रकाशित लेखमा उल्लेख छ । त्यसमा उल्लिखित अधिकांश गीत रोग–व्याधिसँग सम्बन्धित छैनन्, न त साह्रै विरही छन् ! बरु, महामारीले आक्रान्त पारेका बेला ‘वी विल रक यु...’, ‘राइड नेटी...’ जस्ता उत्साही गीत छनोटमा परेका छन् ।
माइकल ज्याक्सनले सन् १९८५ मा सार्वजिनक गरेको ‘वी आर द वर्ल्ड...’ पनि अहिले निकै गाउने/बजाउने गरिएको गीतमा पर्दोरहेछ । ज्याक्सन र लायनल रिचीले भोकमरी झेलिरहेका अफ्रिकी बालबालिकाका लागि लेखेको सो गीत कोरोना–कालमा कसरी सान्दर्भिक बनेको होला ? रोग, भोक सायद एकै भएर हो कि ! तर, अमेरिकी पपगायक बेन ई किङले आफ्नी प्रेमिकाका लागि लेखेको ‘स्ट्यान्ड बाई मी...’ ले रोग/भोक दुवैलाई छुँदैन । तैपनि उक्त गीत अहिलेका स्टार गायक जोन लेजेन्ड र साम स्मिथले गाउँदा लाखौंले रुचाएका छन् ।
किङ, ज्याक्सन, लेनन, मार्लीहरू त बितेर गए । तर, अमेरिकन आइडलमा देखिने लायनल रिचीहरूलाई चाहिँ आफूले खास मनस्थितिमा लेखेका/गाएका गीत अहिले कोरोनाका बेला यसरी रुचाइएको पाउँदा कस्तो लाग्दो हो ! आफूले बेग्लै प्रसंगमा बुनेका शब्दलाई मान्छेपिच्छे, परिस्थितिपिच्छे, कालपिच्छे अनेक कोणबाट अर्थ्याउँदा तिनका रचयिताले के महसुस गर्दा हुन् ! यसबारे हाम्रै संगीतकर्मीलाई सोध्न सकिएला ।
ब्यान्ड ‘१९७४– एडी’ का गिटारिस्ट मनोज केसी त्यस्तो हुनुलाई स्वाभाविक ठान्छन् । उनले लेखेको गीत ‘परेलीमा लुकाइराख न...’ लाई पनि मान्छेहरूले थरीथरी रूपमा व्याख्या गर्दारहेछन् । लकडाउनका बेला यो गीत सुनेका रमेश कटुवालले युट्युबमा कमेन्ट लेखेका छन्, ‘सरकारले पनि बाहिर जान दिएको छैन, रोकेको रोक्यै छ । सरकार र प्रेमी दुवै उस्तै ।’ मनोजलाई यो सब देख्दा रमाइलो लाग्छ ! ‘यो गीत लभ सङका रूपमा चिनियो,’ उनले भने, ‘तर, मैले त्यो आशयमा लेखेको थिइनँ । गीत अमूर्त कला हो, यसलाई जसले जसरी पनि अर्थ्याउन सक्छ । साह्रै उल्टोपाल्टो गरी अर्थ्यायो भनेचाहिँ अपाच्य होला नत्र त रमाइलै हुन्छ ।’
न्युयोर्क सहरको स्टेटन आइल्यान्डमा रहेको पब्लिक स्कुल–२२ मा विद्यार्थीहरूलाई संगीत पढाउने ग्रिग ब्रेइनबर्गलाई पनि आफूले छुट्टै आशयमा लेखेको गीत अहिले विद्यार्थीहरूले कोरोनासँग जोडेर गाउँदा मजेदार लागेछ । द न्युयोर्क टाइम्सको ‘द डेली’ पडकास्टमा ग्रिगले भनेका छन्, ‘मैले वर्षौंअघि लेखेको ‘सिङ योरसेल्फ..’ गीतलाई मेरा विद्यार्थीले निकै सानदार ढंगले वर्तमान परिप्रेक्ष्यमा व्याख्या गरेका छन् । मैले महामारीबारे लेखेको थिइनँ । तर, यो साल उक्त गीत बच्चाहरूलाई सुनाउनु उचित ठानेँ ।’
ग्रिगको गीतमा भनिएको छ–
ह्वाट आर यु गोइङ थ्रु
स्पिनिङ अराउन्ड इन सर्कल
फिल्स लाइक यु आर लस्ट इन अ ड्रिम
एभ्रिथिङ इज नट ह्वाट इट सिम्स
ग्रिगकी एक विद्यार्थीले सपनामा हराउनु ‘महामारीका कारण, होइन ?’ भन्दै सरलाई प्रश्न गरेकी छन् । हरेक दिन घरभित्रै बस्नु, ग्याजेटहरूमा रुमल्लिनु, त्यहीमार्फत गृहकार्य गर्नु, विद्यालयका दैनन्दिन अभ्यास नगर्नु उनका लागि अनौठो सपना भएको रहेछ । हरेक कुरा जस्ता देखिन्छन्, त्यस्तो नहुन सक्ने भावलाई उनले ‘असत्य जस्तै’ भनेकी छन् । ग्रिग प्रस्ट्याउँछन्, ‘जब तिमी निराशा र आफ्नै गतिविधिमा हराएर त्यसबाट बाहिरिने बाटो भेट्दैनौं नि, त्यही अवस्थाबारे गीतमा भनिएको हो ।’
आना नाम गरेकी सानी विद्यार्थी हौसिँदै थप्छिन्, ‘यस्तै त भइरहेको छ अहिले । योसँगै कति धेरै क्षति भइरहेको छ... !’ उता, न्युयोर्क टाइम्ससँगकै गफगाफमा बब डिलन ‘निराश सुनिएको’ अन्तर्वार्ताकार डगलास ब्रिंक्लेले जनाएका रहेछन् । दास प्रथाबाट मुक्ति मिलेको खुसियालीमा अमेरिकामा मनाइने स्वतन्त्रता दिवस अर्थात् जुनटिन्थमा नयाँ एल्बम निकालेका डिलनले डगलासलाई भनेछन्, ‘जर्ज फ्लोयडलाई त्यस्तो यातना दिएर मारेको देख्दा मलाई घृणित महसुस भएको छ । यो कुरूपताको पराकाष्ठा हो ।’
यता ‘द डेली’ पडकास्टमा प्राथमिक तहका ग्रिगका विद्यार्थीहरू एभर्ली ब्रदर्सको ‘ह्वेन विल आई बी लभ्ड...’, जेपी स्याक्सको ‘इफ द वर्ल्ड वाज एन्डिङ...’ हुँदै भर्चुअल ग्य्राजुएसनका लागि कोल्डप्ले ब्यान्डको ‘द साइन्टिस्ट...’ गाइरहेका सुनिन्छन् । पृष्ठभूमिमा विद्यार्थीले आइरिस रक ब्यान्ड युटुको ‘विद अर विदआउट यु...’ गाइरहेका बेला ग्रिग बोल्छन्, ‘यो साल हाम्री एक विद्यार्थीको दुःखद निधन भयो । उनका लागि यो गीत समर्पण गरिएको थिएन । तर, गीत प्रस्तुत गरिरहँदा उनका मिल्ने साथी, एक बालकलाई मैले नियालेँ । अचेल यो गीत गाउने हरेक बालबालिकाको आँखामा म तिनै बच्चीलाई देख्छु, भावुक बन्छु ।’
ग्रिगलाई संगीतको यही पक्ष मनपर्दो रहेछ, गीतका हरेका शब्दलाई मान्छेले आफ्नै किसिमले अर्थ्याउन र आत्मसात् गर्न सक्छन् । उनी विद्यार्थीलाई भन्छन्, ‘मलाई तिमीहरूको कोरस पर्फमेन्स निकै मन पर्छ । तिमीहरू प्रत्येकले गीतसँग आफ्नो सम्बन्ध भएको कुरा प्रस्तुतिमार्फत देखाउँछौ ।’ ग्रिग फेयरवेलको दिन उनका विद्यार्थीको बेजोड प्रस्तुति स्क्रिनमा देखाउँछन्, हामी भने पडकास्टमा त्यसलाई सुन्न सक्छौं । यस्ता प्रस्तुतिहरू अहिले युट्युबलगायत सामाजिक सञ्जाल र स्ट्रिमिङ साइटहरूमा प्रशस्त छन् ।
बब डिलनलगायत एकाध संगीतकर्मीले कोरोनाका बेला आफ्ना एकल गीत सार्वजनिक गरे तापनि अधिकांश गायकगायिकाले ‘रिमोट कोल्याबोरेसन’ मार्फत आफूलाई प्रस्तुत गरेको देखियो । तिनले प्रायः पुराना गीतलाई पुनः गाएका छन् । हामीकहाँ योगेश्वर अमात्य, न्ह्यु बज्राचार्य, जेम्स प्रधानहरूले लकडाउन ज्याम सेसन सञ्चालन गरे । ‘संगीतकर्मीका नाताले यति गर्नु हाम्रो कर्तव्य ठान्यौं,’ अमात्य भन्छन्, ‘यो बेला दर्शक कमाउने उद्देश्य होइन ।’ मनोज केसी, राजु लामा, बर्तिका राई, अभिषेक केसी, दिवस गुरुङहरूले पनि ‘रातो र चन्द्र सूर्य...’ मा कोल्याबोरेसन गरे ।
हाम्रै केही सोलो आर्टिस्टले कोरोनाबारे नै नयाँ गीत निकाल्न भ्याए । लकडाउनभर संगीतमै व्यस्त देखिएका दीपक बज्राचार्यले ‘कोरोना...’ बोलको गीत निकाले भने छोरी चेरिसासँग मिलेर आफ्ना नयाँ–पुराना गीतहरू पनि गाइरहे । ‘कोभिडसँगको लडाइँमा सुरक्षित रहन, सद्भाव कायम राख्न गीतमार्फत आह्वान गरेको हुँ,’ उनले भने, ‘आफू पनि व्यस्त रहने र श्रोताको अनुहारमा थोरै भए पनि हाँसो ल्याउने उद्देश्य हो ।’ उनले ‘म्युजिकल मेडिसिन’ शृंखलाअन्तर्गत सामाजिक सञ्जालबाट मनोरञ्जन दिए ।
केही विदेशीले भने चल्तीका गीतको कोरोना–भर्सन (प्यारोडी) बनाएका छन् । एडलको ‘हेलो फ्रम द आउटसाइड...’ लाई क्रिस म्यानले ‘हेलो फ्रम द इनसाइड...’ भन्दै घरभित्र थुनिँदाको छटपटी भिडियोमा देखाएका छन् । यही गीत अन्य कतिपयले समूहमा गाएर यसलाई क्वारेन्टाइन–सङका रूपमा चर्चामा ल्याए । एडलले आफूलाई बाँकी मानिससँग ‘पुनर्मिलन’ गराउने भावमा उक्त गीत लेखेको ‘द हफिङ्टन पोस्ट’ सँगको अन्तर्वार्ता (सन् २०१५) मा भनेकी थिइन् ।
आफ्नो बालक छोरालाई घरमा छोडेर गीत गाउन हिँड्दाको ग्लानि–भावसमेत उक्त गीतमा अभिव्यक्त गर्न खोजेको एडलले बताएकी थिइन् । यसरी उनले विशुद्ध आफ्ना लागि, आफ्नो अनुभूति समेटेर लेखेका शब्दलाई अहिले सोसल डिस्ट्यान्सिङसँग मिलाइएको पाउँदा उनी के सोचिरहेकी होलिन् ? उनले रचेको सन्दर्भ र अहिले जोडिएको सन्दर्भ एकाकार नहुँदा उनलाई रमाइलो लाग्दो हो कि पट्यार मान्दिहुन् ? यसको जवाफ खोज्न एडलसम्म पुग्नै नपर्ला किनभने यही लेखमा, डिलनकै शब्दहरूमा सायद उत्तर छ ।

 

Page 8
समसामयिक

जीवित भएको प्रमाणपत्र

‘डाक्टरले मृत्यु भएको प्रमाणित गरिसकेपछि हामीले केका आधारमा तपाईंलाई जीवित मान्ने ?’
- शरच्चन्द्र वस्ती

पशुपतिको दर्शन गरेर फर्कन लाग्दा हठात् श्यामलाल सामु आएर कसैले भन्यो, ‘तपाईं जिउँदै हुनुहुन्छ, दाइ ?’
अप्रत्याशित प्रश्नले श्यामलाल जिल्ल परे । त्यो मान्छे उनलाई देखेर स्तब्ध भएको थियो । आँखा आश्चर्यले फैलिएका, मुख विस्मयले विस्फारित भएको, हत्केला आकाशतिर फर्किएका, शरीरको माथ्लो भाग अलिकति पछाडि ढल्किएको । भन्छन् नि, भौचक्का !
‘मलाई के भएको छ र ?’, श्यामलालले प्रतिप्रश्न गरे, ‘तर तपाईं को ? मैले त चिनिनँ नि ?’
‘म लेखनदास क्या, चारखालको । पोहोर तपाईंको जग्गा मैले नै पास गराइदिएको होइन ? कस्तो नचिन्नुभएको ?’
‘ए, हो त नि । नमस्कार है भाइ,’ श्यामलालले हात जोडे, ‘बुढेसकाल लागेपछि सुद्धी नै हराउँदो रहेछ ।’
‘सुद्धी होइन, तपाईंको जग्गा चैं हराउला जस्तो छ । तपाईंका भाइले तपाईं मरिसक्नुभो, त्यसैले त्यो जग्गा नामसारी गरिपाऊँ भनेर हिजो मात्र निवेदन हाल्या छन्,’ लेखनदास हाँस्यो, ‘म त तपाईं साँच्चै मरिसक्नुभएछ भन्ठान्या । यहाँ ठमठमी हिंडिराख्या देख्ता त झन्डै ढल्या नि !’
श्यामलाल छाँगाबाट खसे । ‘हे भगवान्, के हुन लाग्या यस्तो !’ खुइय्य गर्दै उनले थाप्लामा हात लगाए ।
‘तपाईंको औंला चैं के भो नि दाइ ?’, उनको दाहिने हातमा बूढीऔंलो नदेखेर लेखनदास फेरि छक्क पर्‍यो ।
‘काटेर फ्याँक्नुपर्‍यो भाइ,’ संक्षिप्त उत्तर दिएर श्यामलाल पिरोलिन थाले, ‘अब के गर्ने होला ? जग्गा गयो भने त मेरो सर्वस्वै जान्छ । जिन्दगीभरिको कमाइ...’
‘चिन्ता नगर्नोस् दाइ, म छँदैछु नि,’ खग्गू लेखनदासले ढाडस दियो, ‘आज शनिवार भैगो । भोलि बिहान मकहाँ आउनोस् । म मिलाइहाल्छु नि । तपाईं जिउँदो छँदाछँदै तपाईंको जग्गा अर्कालाई कसरी हडप्न दिउँला ?’
लेखनदास मुस्कुराउँदै पशुपतितिर लाग्यो, श्यामलाल चिन्ताले डोरिंदै डेरातिर ।
सिन्धुपाल्चोकको विकट गाउँमा ६२ वर्ष अघि जन्मेका श्यामलाल २० वर्षको उमेरमा मुगलान भासिएका थिए । अनेक हन्डर खाँदै ४० वर्ष उता बिताएपछि पोहोरसाल स्वदेश फर्केर काठमाडौंमा चार आना जग्गा किनेका थिए । बुढेसकाल आफ्नै देशमा बिताउने उनको धोको थियो । कम्पनीको रहलपहल हिसाब टुंग्याऊँ भनेर जग्गा किने लगत्तै उता लागेका, कोरोनाको लकडाउनले उतै अड्किए । यसैबीच एउटा दुर्घटनामा परेर हातको औंलो गुमाउनुपर्‍यो । बल्लतल्ल काठमाडौं फर्केका थिए, जग्गा पास गर्दा साक्षी बसेको भाइले नै जग्गा हडप्न लागेको थाहा पाएर मर्माहत भए । भोक, प्यास सबै हरायो । ‘जिन्दगीभरि त्यो असत्तीको मुख हेर्दिनँ,’ मनमनै अठोट गरे, र बारम्बार पशुपतिनाथलाई धन्यवाद दिइरहे, ‘धन्न प्रभु, वेलैमा लेखनदाससँग भेट गराइदिनुभो । नत्र मैले थाहै नपाई जग्गा गुमिसक्ने रहेछ !’
भोलिपल्ट १० बज्दा नबज्दै श्यामलाल चारखाल पुगे र लेखनदासलाई भेटे । उसले मालपोतको सुब्बासँग भेट गरायो । सुब्बाले फाइल खोलेर देखाइदियो : जग्गा नामसारीका लागि भाइले दिएको निवेदनमा ‘श्यामलालको मृत्यु भएको’ डाक्टरी–पत्र पनि नत्थी गरिएको रहेछ, एउटा प्राइभेट अस्पतालले बनाइदिएको ।
फाइल लिएर हाकिमकहाँ पुग्दा उसले भन्यो, ‘डाक्टरले मृत्यु भएको प्रमाणित गरिसकेपछि हाम्रो केही लाग्दैन । हामीले केका आधारमा तपाईंलाई जीवित मान्ने ?’
‘म तपाईंका सामुन्ने खडा छु, सर । म जीवित रहेको प्रमाण यही होइन र ?’ श्यामलालको स्वर भारी थियो ।
‘तपाईंले बोलेर हुँदैन । कागजले बोल्नुपर्छ,’ हाकिमले भन्यो, ‘तपाईंले आफू जीवित भएको लिखित प्रमाण ल्याउनुपर्छ ।’
‘कहाँबाट ल्याउने त्यस्तो प्रमाण–पत्र ?’
‘मानिस जिउँदै भएको प्रमाणित गर्ने एउटा अफिस छ । त्यहीं जानोस् र आफू जीवित रहेको पत्र लिएर आउनोस् ।’
‘त्यस्तो पनि अफिस हुन्छ र ?’ श्यामलाललाई उदेक लाग्यो ।
‘अफिसै हो । म चिठी लेखिदिउँला,’ हाकिमले कुरा टुंग्यायो ।
श्यामलाल चिठी लिएर दगुरे । अफिस महानगरपालिका कार्यालयमा रहेछ । त्यहाँको हाकिमले भन्यो, ‘यसका लागि वडामा सर्जमीन गराउनुपर्छ । म चिठी लेखिदिन्छु ।’
उसको चिठी बोकेर श्यामलाल आफ्नो वडा कार्यालय पुगे । वडाध्यक्षले निर्धारित शुल्क बुझाउन लगायो र सर्जमीनको चाँजोपाँजो मिलायो । ६० हजार जनसंख्या भएको वडामा सर्जमीनका लागि २० जना जति भेला भए । तीमध्ये कसैसँग श्यामलालको परिचय थिएन । श्यामलाललाई चिन्छु भन्ने पनि कोही भएन । अधिकांशले भने, ‘कहिलेकाहीं यताहुँदि देखेको त हो, तर को हुन्, के नाम हो, कहाँ बस्छन् थाहा छैन ।’ बाँकीले उनलाई कहिल्यै नदेखेको बताए । वडाध्यक्षले सोही बमोजिम पत्र तयार गर्‍यो ।
‘आफ्नै वडामा तपाईंलाई कसैले नचिनेपछि मैले के आधारमा तपाईं जीवित भएको प्रमाणित गर्ने ?’ वडाको पत्र पढेर हाकिम टकटकिन खोज्यो । श्यामलालले धेरै नेहोरा गरेपछि उसले हाल नगरपालिकामा परिणत भएको उनको गाउँलाई चिठी लेखिदियो । श्यामलाल चिठी झोलामा हालेर गाउँ पुगे । तर, त्यहाँ पनि उनलाई चिन्ने कोही भेटिएनन् ।
भेटिउन् पनि कसरी ? ४२ वर्ष अघि गाउँ छोडेर हिंडेपछि श्यामलाल एकचोटि पनि त्यहाँ पुगेका थिएनन् । उनको घर पाताल भैसकेको थियो । परिवारको कोही गाउँमा थिएन । बूढाखाडा मरिसकेका थिए । आफन्त र समवयस्कहरू गाउँ छोडेर शहरतिर लागेछन् । युवाहरू विदेशतिर । एउटी बूढी आमै भेटिइन्, जसले आँखा देख्न छोडिसकेकी थिइन् । सर्जमीनमा केहीले श्यामलालको नाम त सुनेको बताए, तर उनलाई उनी नै हुन् भनिदिने कोही भएन । जिन्दगीमा कहिल्यै नदेखेको बूढो मान्छेलाई कसैले कसरी चिनोस् ?
गाउँबाट पनि निराश भएर फर्केपछि श्यामलालले हाकिमसँग दुःखपुकारा गरे, ‘कुनै न कुनै उपाय निकालेर म जीवित भएको प्रमाणित गरिदिनोस्, सर । नत्र म बर्बाद हुन्छु ।’
श्यामलालको कथा सुनेर हाकिमलाई उनीप्रति सहानुभूति जागेको थियो । उसले भन्यो, ‘मैले सर्जमीनका आधारमा प्रमाणित गर्ने हो । तर त्यो आधारै बनेन । तपाईंका लागि जोखिम मोल्न पनि तयार छु । तर केही न केही आधार त अवश्य चाहिन्छ ।’
अर्को दिन उसले ल्याप्चे विशेषज्ञलाई बोलायो र श्यामलालको नागरिकता प्रमाणपत्र देखायो । विशेषज्ञले ‘म्याग्निफाइङ ग्लास’ लगाएर त्यसमा भएका दुवै ल्याप्चेको सूक्ष्म निरीक्षण गर्‍यो र निष्कर्ष सुनायो, ‘यसमा दाहिने औंठाको छाप स्पष्ट छ, तर अहिले उहाँको त्यो औंठै छैन । यो ल्याप्चे उहाँको औंठाको हो भनेर कसरी भन्ने ? उहाँको देब्रे औंठा छ, तर यसमा त्यसको छाप ल्याप्प एक ढिक्का छ, रेखा छुट्याउनै सकिंदैन । यो ल्याप्चे पनि उहाँको हो भनेर कसरी भन्ने ?’
विशेषज्ञलाई बिदा गरेर हाकिमले श्यामलाललाई भन्यो, ‘अब एउटै उपाय छ । तपाईं आफ्नो डाक्टरबाट औंला काटिएको प्रमाणपत्र लिएर आउनोस् । त्यसका आधारमा सिडियोले नागरिकता प्रमाणपत्र सच्याइदिन्छ । बूढीऔंलाको सट्टा चोरऔंलाको ल्याप्चे प्रमाणित गरिदिन्छ र तपाईंको फोटो पनि नयाँ राखिदिन्छ । त्यो भएपछि म तपाईं जिउँदो रहेको प्रमाणित गरिदिन्छु ।’
श्यामलाल आँखा चिम्लेर भारततिर कुदे । लकडाउनका कारण यात्रा सहज भएन, तर डाक्टरले बूढीऔंला काटिएको पत्र सहजै तयार गरिदियो । एक हप्ताभित्रै उनी विजयी मुद्रामा हाकिमसामु उपस्थित भइसकेका थिए ।
हाकिमले खाम खोलेर पत्र हेर्‍यो र देब्रे हातले पुर्पुरो समात्यो, ‘के लिएर आउनुभएको यो ? तपाईंको दाहिने हातको बूढीऔंला काटिएको होइन ? यसमा त देब्रे हातको बूढीऔंला पो काटेर फ्याँकेको भन्ने लेखेको छ त !’
श्यामलाललाई रिंगटा लाग्यो र जीउ लल्याकलुलुक भयो । स्वाँ–स्वाँ गर्दै उनले एक जग पानी एकै सासमा रित्याए ।
हताश भएर लेखनदासकहाँ पुग्दा उसले भन्यो, ‘हत्तेरी दाइ, कत्रो हन्डर खानुभएछ ! त्यत्ति जाबो कामका लागि किन भारत गइराख्नुपर्थ्यो ? म यहीं व्यवस्था गरिदिहाल्थें नि !’
नभन्दै उसले भोलिपल्टै ‘श्यामलालको दाहिने हातको बूढीऔंला काटेर फ्याँकेको’ डाक्टरी–पत्र ल्याइदियो र श्यामलालसँगै लागेर तीन दिनमा नागरिकताको नयाँ प्रतिलिपि निकालिदियो । त्यसका आधारमा महानगरपालिकाको हाकिमले उसै दिन श्यामलाल जीवित भएको प्रमाण–पत्र बनाइदियो । अर्को दिन मालपोतको हाकिमले उनको भाइको निवेदन खारेज मात्र गरेन, जालसाजी बापत उसलाई प्रहरीको जिम्मा पनि लगाइदियो ।
तमाम झमेला, तनाव र निराशा बाहेक यस काण्डमा श्यामलालको एक लाख भन्दा बढी खर्च भएको थियो । सोझै होइन, लेखनदास मार्फत । कुन वेला कसलाई कति दियो, उसैलाई थाहा थियो । ऊ खुशी देखिन्थ्यो । श्यामलाल झन् खुशी थिए । किनभने, आफू जिउँदै भएको प्रमाणित गर्न सफल भएका थिए ।

समसामयिक

अयोध्या कहाँ ?

- कान्तिपुर संवाददाता
तस्बिर स्रोत : प्राचीन भारतका ऐतिहासिक भूगोल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका बारेमा जेजस्तो अभिव्यक्ति दिए, त्यसले नेपाल र भारतमा राम्रै तरंग पैदा भयो । भारतले आपत्ति जनाउनु त स्वाभाविकै हो, स्वयं नेपाली समाज पनि प्रधानमन्त्रीको भनाइप्रति खासै विश्वस्त हुन सकेन । किनभने, एकातिर आफ्नो अभिव्यक्तिलाई थेग्न सक्ने पर्याप्त आधार प्रधानमन्त्री ओलीले दिन सकेनन्, अर्कोतिर ऐतिहासिक परम्पराले पनि उनको कुरा पुष्टि गर्ने स्थिति छैन । प्रधानमन्त्रीको ‘कुरा’ आफ्नै ठाउँमा राखेर के अयोध्या नेपालमै पर्छ ? कि भारतको अयोध्याकै पछाडि ऐतिहासिक तथ्यहरू मौजुद छन् ? भन्नेबारे केही छलफल गर्ने प्रयास गरिएको छ ।

हिन्दुहरूको सात तीर्थस्थलमध्ये एक हो– अयोध्या, जसलाई ‘अयोज्झा’ र ‘अयुधा’ नामले पनि उत्तिकै चिनिन्छ । चिनियाँ यात्री फाहियानले यसलाई शा–चि भनेका छन् भने पोलेमीले सोगेद (सगद) । अयोध्याका अरू पनि नाम छन्– साकेत्, इक्ष्वाकुभूमि, कोशल र रामपुरी (विमल चरण लाहा, प्राचीन भारत का ऐतिहासिक भूगोल, सन् १९७२, पृष्ठ ११४, नुन्दो लाल डे, द जिओग्राफिकल डिक्सनरी अफ एन्सियन्ट एन्ड मेडियबल इन्डिया, सन् १९२७, पृष्ठ १७४) ।
बौद्धमार्गीका लागि साकेत् हो अयोध्या (नुन्दो लाल डे, पृष्ठ ११४) । कतिपयले साकेत् र अयोध्या फरकफरक स्थान हो भन्ने मान्यता पनि राखेको पाइन्छ तर अयोध्यासम्बन्धी विस्तृत अनुसन्धान गरेका हान्स बेक्करको निचोडमा साकेत् र अयोध्या एकै हो । उनका अनुसार, पाँचौं शताब्दीको आधाउधीतिर साकेत् र अयोध्या एकै हुन् भन्ने प्रस्ट उल्लेख छ । जस्तो कि कालिदासले रघुवंशमा साकेत् र अयोध्या नाम पर्यायवाची रूपमा प्रयोग गरेका छन् (हान्स बेक्कर, अयोध्या, पार्ट वान्, सन् १९८४, पृष्ठ ६१) ।
ब्राह्मण साहित्य (ऐतरीय ब्राह्मण) मा अयोध्यालाई एउटा गाउँको रूपमा वर्णन गरिएको छ । भागवत् पुराणमा चाहिँ यसलाई एउटा नगरका रूपमा वर्णन गरिएको छ । स्कन्द पुराणमा अयोध्याको आकार माछाको जस्तो (मत्स्याकार) छ भनिएको छ । र, रामायणमा रामका पिता राजा दशरथको कोशल राज्यको राजधानीका रूपमा उल्लेख छ (विमल चरण लाहा, पृष्ठ ११४) । बौद्धकालमा कोशल राज्य उत्तर र दक्षिणमा विभाजित थियो र दक्षिण कोशलको राजधानी अयोध्या थियो (विमल चरण लाहा, पृष्ठ ११५) । भनेपछि अयोध्या कहाँ पर्थ्यो त ?
पाँचौं शताब्दीका चिनियाँ यात्री फाहियानले गंगा नदी तरेपछि दक्षिण–पूर्वमा ३ योजन हिँडेपछि शा–चि (अयोध्या) भन्ने विशाल अधिराज्य आइपुगिन्छ भन्ने उल्लेख गरेका छन् । जेम्स लेग्गेले चर्चा गरेअनुसार, शा–चे भनेको शाखे हो । फाहियानले शाखेलाई शा–चि नामकरण गरे र शाखे भनेको साकेत् हो (द ट्राभल्स अफ् फाहियान, सन् १९७१, पृष्ठ ५४–५५) । शा–चि भनेको साकेत् (अयोध्या) नै हो भन्ने मान्यता अलेक्जेन्डर कनिङ्घमको पनि छ (अलेक्जेन्डर कनिङ्घम, एन्सियन्ट जिओग्राफी अफ इन्डिया, सन् १८७१, पृष्ठ ३९८) । कनिङ्घमको विचारमा ह्वेन साङले भनेको विसाख पनि साकेत् (अयोध्या) नै हो (एन्सियन्ट जिओग्राफी अफ इन्डिया, पृष्ठ ४०५) ।
सातौं शताब्दीमा भारत आएका चिनियाँ यात्री ह्वेन साङ (युवान च्वाङ) ले न–पो–ति–पो–कु–लो (नव–देव–कुल) बाट दक्षिणतर्फ ६०० माइलभन्दा बढी हिँडेपछि गंगा नदी तरेर दक्षिणमा अयुतो पुगेको उल्लेख गरेका छन् (ह्वेन साङ, बुद्धिस्ट रिकर्ड अफ द वेस्टर्न वर्ल्ड, अंग्रेजीबाट अनुवाद स्यामुयल बिल, सन् १८८४, पृष्ठ २२३) । कनिङ्घमका अनुसार, अयुतो भनेको अयुधा अर्थात् अयोध्या हो (एन्सियन्ट जिओग्राफी अफ् इन्डिया, पृष्ठ ३८३) ।
उता रामायणअनुसार, पनि कोशल राज्य दक्षिणमा गुम्ती र गंगा नदीको बीचमा स्यान्डिका नदीसम्म फैलिएको थियो । बौद्धकालमा अयोध्या उत्तर कोशल र दक्षिण कोशलमा विभाजित थियो । सरयू नदीले यी दुई राज्य (जनपद) लाई विभाजित गरेको थियो । बुद्धको समयमा राजा प्रषेणजितका पिता महाकोशलका पालामा कोशलको सीमा बढेर हिमालयदेखि गंगासम्म र रामगंगादेखि गण्डकम्म फैलिएको थियो (नुन्दो लाल डे, पृष्ठ १४) । शतपथ ब्राह्मणका अनुसार पनि कोशल राज्यको पूर्वी सिमाना सदानिर नदीसम्म थियो र सदानिर नेपालको गण्डकी नदीलाई मानिन्छ (हान्स बेक्कर, पृष्ठ २) ।
रामायणको पहिलो काण्ड अर्थात् बालकाण्डअनुसार, अयोध्या सरयू नदीको किनारमा अवस्थित छ (हान्स बेक्कर, पृष्ठ १०) । र, अयोज्झा (अयोध्या) सरयू नदीको किनारमा रहेको कोशल राज्यको सहर थियो । तर, कतिपयले अज्ञानतावश गंगामा पनि अयोज्झा छ भन्ने गरेको पाइन्छ । रिस डेबिसको विचारमा गंगाको किनारमा छ भनिएको अयोज्झा भूलवश उल्लेख भएको हो (टी.डब्ल्यु. रिस डेबिस, बुद्धिस्ट इन्डिया, सन् १९११, पृष्ठ ३४) ।
समुद्रगुप्तद्वारा जारी ताम्रपत्रमा पनि अयोध्या उत्तर प्रदेश (अवध) को घाघरा नदीसँग समीकृत (मिसिएको) सरयू नदीको दोभानको तटमा अवस्थित सहरका रूपमा वर्णन गरिएको छ, जुन भारतको फैजावाद रेलस्टेसनदेखि ६ माइल टाढा पर्छ । ‘सम् जैन क्यानोनिकल सुत्राज्’ (सन् १९४९) का अनुसार, अयोध्या कन्नौजबाट लगभग १५० माइल दक्षिणपूर्वमा अवस्थित रहेको छ (विमल चरण लाहा, पृष्ठ ११४) ।
अर्को कुरा, अयोध्या गंगा नदीभन्दा दक्षिणतिरै पर्छ भन्ने कुरा रामायणमा उल्लेख हुने भूगोल र रामायाण पात्रहरूको यात्राबाट पनि स्पष्ट हुन्छ । जस्तो कि भरतले अयोध्या पुग्नका लागि हस्तिनापुरमा गंगा नदी पार गर्नुपरेको छ (एच.डी. संकालिया, द रामायण इन हिस्टोरिकल पर्स्पेक्टिभ, सन् १९८२, पृष्ठ ३०) । र, डा. मोती चन्द्रका अनुसार, यो हस्तिनापुर वर्तमान भारतको हसनपुर हो (एच.डी. संकालिया, पृष्ठ ३४) । छोरा जन्मियोस् भनेर राजा दशरथले चिरोदकमा ऋषि ऋष्यशृंगको मद्दतमा बलि चढाएका थिए (जसलाई अहिले भारतमा चिरसागर भनिन्छ) भन्ने कुराले पनि अयोध्या गंगा नदीको दक्षिणमा पर्छ भन्ने कुरा नै स्पष्ट हुन्छ (नुन्दो लाल डे, पृष्ठ ११४) ।

निश्चय नै अयोध्या प्राचीन सहर हो । तर, कति प्राचीन ? इसापूर्व २००० कि मात्र इसापूर्व ७०० ? यो कुरा अयोध्या सहरमा भएको उत्खननले मात्र भरपर्दो जवाफ दिन सक्छ (एच.डी. संकालिया, पृष्ठ २९) । एच.डी. संकालियाको मतअनुसार, यदि ऐतरेय ब्राह्मणमा उल्लेख भएको कुरा सत्य हो भने प्रारम्भमा अयोध्यामा माटोको हिलोबाट बनेका घरहरू थिए, जुन अहिले पनि अयोध्याका वरिपरिका गाउँहरूमा देख्न सकिन्छ । यहाँसम्म कि पुराणहरूले पनि राजा हरिशचन्द्रको पालामा अयोध्या गाउँ नै थियो भनेर उल्लेख गरेको छ । रामायणमा उल्लेख भएअनुसार, रामचन्द्रलाई वनवास पठाइने खबर सुनेपछि कौशल्या बेहोस भएर भुइँमा ढल्छिन् र उनको शरीर धूलोले ढाकिन्छ । ‘धूलोले ढाकेको’ यो झिनो प्रमाणका आधारमा अलिकति संकोच मान्दै एच.डी. संकालिया के भन्छन् भने प्रारम्भिक समयमा पुरानो अयोध्यामा घरहरू हिलो माटोबाट बनेका हुन्थे । यस आधारमा भन्दा अयोध्या बढीमा इसापूर्व आठौं शताब्दी पुरानो हो (एच.डी. संकालिया, पृष्ठ ५२) ।
संस्कृत महाकाव्यहरूमा वर्णन गरिने हस्तिनापुर, अहिच्छत्र, काम्पिल्या, कौसाम्बी, कनोज, राजगीर, पाटलीपुत्र, वैशाली, श्रावस्तीलगायतका ७४ सहरहरूमा गरिएको उत्खननमा पाइएका माटाका भाँडा, फलाम इत्यादिका आधारमा भन्दाखेरि यी सहरमा सबैभन्दा पहिला माटोको हिलो र माटोका इँटा प्रयोग गरेर घरहरू बनाइन्थे र कार्बन–१४ का आधारमा गरिएको मिति निर्धारणले यी सहरहरूमा इसापूर्व पाँचौं शताब्दीदेखि मात्र पकाइएका इँटा प्रयोग हुन थालेको हो । उत्तर प्रदेश र बिहारका थुप्रै स्थलहरूमा गरिएका उत्खननका आधारमा भन्ने हो पनि भने अयोध्यामा इँटाको प्रयोग इसापूर्व चौथो शताब्दीभन्दा पहिलेदेखिको हो (संकालिया, पृष्ठ ५२–५३) । अर्थात् इसापूर्व चौथो शताब्दीभन्दा परानो सहर हो अयोध्या ।
फेरि दशरथका तीन जना रानीहरू, राम र सीतालगयतका लागि अलगअलग घर (दरबार) बनाइएको वर्णन रामायणमा छ । त्यस्तै कालीगढ, हजाम, संगीतकार, व्यापारीहरूको, जो उल्लेख रामायणमा छ, घरबाहिर निस्कँदा घुँघट लगाएर निस्कने महिलाहरूको वर्णन, जो रामायणमा छ यतिबिघ्न विकसित सामाजिक संगठन र मूल्यमान्यताहरूले चाहिँ अयोध्या धेरै पुरानो होइन भन्ने देखिन्छ (एच.डी. संकालिया, पृष्ठ ५२) । तर, यो पछि थपिएको अंश हो सहजै भन्न सकिन्छ ।
एच.डी. संकालियाले अयोध्याको विकासको पाँच चरणमा भएको बताएका छन् । ऐतरेय ब्राह्मण (इसापूर्व १०००–८००) मा उल्लेख भएअनुसार, पहिलो चरणमा अयोध्यामा गाउँ अथवा सानो सहर थियो जहाँ पशुपालन, सिकार र धान खेती गरिन्थ्यो । दोस्रो चरणमा बुद्ध र अजातशत्रुको समयमा अयोध्या केही ठूलो सहर बन्न पुगेको थियो तर अर्थतन्त्र चाहिँ लगभग पहिलो चरणकै जस्तो थियो । तेस्रो चरणमा राजा अशोकका पालामा अयोध्या निकै विकसित हुन पुग्यो । त्यसबखत थुप्रै स्तूप र गुम्बाहरू बनेका थिए । त्यस्तै चौथो चरणमा पुष्यमित्रका पालामा यवन (ग्रीक) हरूलाई पराजित गरेपछि अश्वमेध यज्ञ गरिएको थियो । त्यसबखत दरबार र मन्दिरहरू बनाइएका थिए । यही बखत अयोध्याको पूर्वी भारत र निकै टाढाको गान्धारसँग गंगाको तल्लो र माथिल्लो मैदान हुँदै चल्ने मार्गमार्फत सम्बन्ध स्थापित हुन पुगेको थियो । यही बखत चन्द्रगुप्त मौर्यले अलेक्जेन्डरका अखडाहरू हटाएर गान्धारमाथि पाटलिपुत्रको प्रभुत्व स्थापित गरेका थिए । र, पाँचौं चरणमा गुप्त शासनकालमा अयोध्याको थप विकास भयो । यसबखत अयोध्यामा देव मन्दिरहरू बने, जुन ह्वेन साङले आफ्नो यात्रा वर्णनमा उल्लेख गर्दासम्म यथावत् थिए । सम्भवतः रामायणमा वर्णन गरिएको अयोध्या यही समयको हुन सक्ने सम्भावना छ (एच.डी. संकालिया, पृष्ठ ५४) ।
रामायणमा अयोध्या सहरलाई विकसित सहरका रूपमा चर्चा गरिएको छ । यी कतिपय कुरा बढाइचढाइ पनि हुन सक्छ (एच.डी. संकालिया, पृष्ठ २८) । जस्तो कि रामायणअनुसार, यो धनधान्ययुक्त नगर थियो । छेउछाउमा फूलहरू झुलिरहेको फराकिलो सडक थियो । ढोकाहरूमा तोरण थियो । पूर्णतः सुरक्षित सहर थियो । चारैतिर पानी भरिएको नालीले घेरिएका कारण अभेद्य थियो । संगीतको ध्वनि गुन्जिरहन्थ्यो (विमल चरण लाहा, पृष्ठ ११६) ।
बी.बी. लालले पनि अयोध्यामा गरेको उत्खननका आधारमा अयोध्यामा सहरी बस्तीको सुरुआत इसापूर्व छैटौं शताब्दीको अन्त्य अथवा इसापूर्व पाँचौं शताब्दीको मध्यतिर सुरु भएको बताएका छन् । यही बखत गंगाको मैदानमा सहरहरू विकास हुन थालेको हो (हान्स बेक्कर, पृष्ठ २) ।
इसापूर्व आठौं र सातौं शताब्दीमा घुमन्ते मानवहरू गंगाको मैदानमा आवाद गरेर बस्न थालेपछि ससाना बस्ती सुरु भयो । बस्तीकै कारण यातायात मार्गहरू पनि यही बाटो भएर विकास भएका हुन् । र, इसापूर्व छैटौं शताब्दीमा सहरका रूपमा विकास भएर आदिवासीय जनपदहरू अधिराज्य र गणराज्यमा विकास भए । यही क्रममा जनपदका रूपमा रहेको कोशल अधिराज्यका रूपमा विकास भयो । यही बखत इसापूर्व छैटौं शताब्दीको दोस्रो दशकदेखि पाँचौं शताब्दीका बीचमा कोशलभित्र साकेत् (अयोध्या) र श्रावस्ती नामका दुई सहरहरू विकास भएका थिए जुन त्यसबखतका ६ ठूला सहरमध्ये थिए (हान्स् बेक्कर, पृष्ठ २) ।

बुद्धको समयमा यो सहरको खासै महत्त्व थिएन (टी.डब्ल्यू. रिस डेबिस, बुद्धिस्ट इन्डिया, सन् १९११, पृष्ठ ३४) । र, पाँचौं शताब्दीमा अयोध्या पुगेका चिनियाँ यात्री फाहियानले बौद्ध र ब्राह्मणहरूबीच राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन् । उनले त्यहाँ एउटा स्तूप पनि देखेका थिए जहाँ चार जना बौद्धहरू थिए (विमल चरण लाहा, पृष्ठ ११५) ।
ह्वेन साङले देखेअनुसार, अयोध्यामा १०० भन्दा बढी बौद्ध विहार र ३००० भन्दा बढी बौद्ध भिक्षुहरू थिए । त्यहाँ १० वटा मन्दिर थिए र गैरबौद्ध धर्मावलम्बी ज्यादै कम थिए । गंगा नदीको नजिकै एउटा विशाल बौद्ध विहारमा बुद्धले आफ्नो प्रवचन दिएका थिए –ह्वेन साङ, पृष्ठ २२५) ।
ह्वेन साङले उल्लेख गरेजस्तै हान्स बेक्कर पनि के भन्छन् भने इसापूर्व ५०० देखि इसाको ५०० सम्मको १००० वर्ष साकेत् (अयोध्या) मा मूलतः बौद्ध धर्मको प्रभाव थियो । सन् १००० पछि चाहिँ बौद्ध धर्मले अयोध्यामा आफ्नो प्रभाव गुमायो (हान्स बेक्कर, अयोध्या, पृष्ठ ३७) । हान्स बेक्करकै अनुसार, अयोध्यामा इसापूर्व छैटौं शताब्दीताका जैन धर्मको पनि उत्तिकै प्रभाव थियो (अयोध्या, पृष्ठ ३८) ।
सुङ्ग शासक धन (देवे) ले इसापूर्व १८५ मा मौर्य साम्राज्य ध्वस्त गरेका आफ्ना पुर्खा पुष्यमित्र (रामशरण शर्मा, एन्सियन्ट इन्डिया, सन् १९७७, पृष्ठ १००) ले अयोध्यामा दुईपटक अश्वमेध यज्ञ गरेको उल्लेख गरेका छन् । उनै देवे र दत्तले साकेत्मा ब्राह्मण धर्म (हिन्दु धर्मको पूर्वरूप) को जग बसाएका थिए । यी राजाहरूले जारी गरेको मुद्रामा साँढेको तस्बिर अंकित गरिएको छ जसलाई विद्वान्हरूले शिवसँग जोडेर व्याख्या गरेका छन् (हान्स बेक्कर, पृष्ठ ४१) ।
लामो समयसम्म बौद्ध र जैन धर्मको प्रभाव रहेको अयोध्यालाई पवित्र हिन्दु तीर्थस्थलका रूपमा पुनःस्थापना गर्ने काम दोस्रो शताब्दीका भारतका गुप्त राजा विक्रमादित्यले गरेका थिए (नुन्दो लाल डे, पृष्ठ ११४) । यो समयदेखि हालसम्म पनि हिन्दुहरूका लागि भारतस्थित अयोध्या पवित्र तीर्थस्थलका रूपमा रहँदै आएको छ । अहिलेलाई प्रधानमन्त्री ओलीले दाबी गरेको नेपालको ‘अयोध्या’ बारे चाहिँ पुरातात्त्विक उत्खननलगायत थुप्रै तथ्यहरू फेला नपारेसम्म यसै भन्न सकिन्न ।

Page 9
अर्थ वाणिज्य

कृषि, ऊर्जा र विद्युतीय भुक्तानीलाई मौद्रिक नीतिको प्रोत्साहन

राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि क्षेत्रमा जेठ मसान्तसम्म २ खर्ब ६१ अर्ब १५ करोड ऋण लगानी भएको छ । यो वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जाको ९.७ प्रतिशत हो ।
- विजय तिमल्सिना

कृषि एवं ऊर्जा क्षेत्रमा बैंकको लगानी बढाउने र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने गरी राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकले कृषि र ऊर्जा क्षेत्रमा गर्नुपर्ने ऋण लगानीको दायरा बढाइएको छ । विद्युतीय भुक्तानी सेवा
प्रदायकले कारोबारको सीमा बढाउनुपर्ने प्रावधान पनि राखिएको छ ।
आगामी दुई वर्षभित्र वाणिज्य बैंकहरूले कुल कर्जाको १५ प्रतिशत ऋण लगानी कृषि क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि ०७७ असारसम्ममा कृषि क्षेत्रमा कुल कर्जाको १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत कृषि कर्जाको सीमा बढाएको हो । यसअघिको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कृषि कर्जाको सीमाअनुसार ऋण लगानी गरिसकेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि क्षेत्रमा जेठ मसान्तसम्ममा २ खर्ब ६१ अर्ब १५ करोड ऋण लगानी भएको छ । यो वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जाको ९.७ प्रतिशत हो ।
व्यावसायिक रूपमा गरिने फलफूल खेतीका लागि लिइएको ऋणमा पहिलो वर्ष शून्य दशमलव २ प्रतिशत र दोस्रो वर्ष शून्य दशमलव ६ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गरे पुग्ने व्यवस्था मौद्रिक नीतिमा छ । जुनार, मौसम, किवी, कागती, आँपसहित रेशम, जुट, कपासलगायत कृषि खेतीका लागिसमेत कर्जा प्रवाहलाई प्रोत्साहन गरिने मौद्रिक नीतिमा उल्लेख छ । जग्गा एकीकरण वा करारमार्फत व्यावसायिक कृषि, उद्योग वा अन्य व्यवसाथ सञ्चालनमा सहजीकरण गर्न लिज सम्पत्ति सुरक्षणसम्बन्धी नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । सरकारले यो वर्षको बजेटमा पनि जग्गा एकीकरण वा करारमार्फत व्यावसायिक कृषि खेती प्रवर्द्धन गर्ने नीति लिएको थियो ।
कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकका रूपमा स्थापना गर्नेसमेत मौद्रिक नीतिमा उल्लेख छ । कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था मिलाउने मौद्रिक नीतिमा उल्लेख छ । कृषि ऋणपत्र जारी गर्दा अन्य वाणिज्य बैंकलाई ऋणपत्रमा लगानीमार्फत कृषि कर्जा अनुपात कायम गर्न सहज हुने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले बजेटमा घोषणा गरेजस्तै किसान क्रेडिट कार्डको व्यवस्था गर्ने घोषणा पनि मौद्रिक नीतिले गरेको छ । किसान क्रेडिट कार्डले कृषकलाई वित्तीय सानका साथै कृषि सूचना तथा जानकारी उपलब्ध गराइने मौद्रिक नीतिमा उल्लेख छ ।

ऊर्जामा पनि थप लगानी
मौद्रिक नीतिले ऊर्जा क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाहरूले थप लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिले वाणिज्य बैंकले जारी गर्ने
ऋणको प्रवाहमध्ये ०८१ असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत ऋण ऊर्जा क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरेको हो ।
यसअघि वाणिज्य बैंकहरूले ०७७ असार मसान्तसम्म ऊर्जा र पर्यटन क्षेत्रमा जोडेर कुल कर्जाको १५ प्रतिशत कर्जा प्रवाह गरे पुग्ने व्यवस्था थियो । ऊर्जा प्रवर्द्धकहरूले ऊर्जा क्षेत्रमा लगानी बढाउन यो सीमा बढाउनुपर्ने माग गर्दै आएका थिए । कृषि, ऊर्जा र पर्यटनमा गरी २५ प्रतिशत ऋण लगानी गर्नुपर्ने व्यवस्था भए पनि वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा गर्ने लगानी निकै थोरै थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म ऊर्जा क्षेत्रमा १ खर्ब ४४ अर्ब १४ करोड ऋण लगानी भएको छ । यो वाणिज्य बैंकहरूले गरेको कुल ऋण प्रवाहको ५.३ प्रतिशत मात्रै हो । मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले ऊर्जा ऋणपत्र जारी गर्न सक्ने व्यवस्था मिलाउने घोषणासमेत गरिएको छ । ‘ऊर्जा क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकहरूले ऊर्जा ऋणपत्र जारी गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘यसले ऊर्जा क्षेत्रमा कर्जा प्रवाह कम भएका बैंकहरूलाई ऋणपत्रमा लगानीमार्फत न्यूनतम कर्जा अनुपात कायम गर्न सहयोग पुग्नेछ ।’

विद्युत् आयोजनालाई ब्याजदरमा सुविधा
मौद्रिक नीतिले विद्युत् आयोजनालाई सुपथ ब्याजदरमा पनि थप सुविधा दिने घोषणा गरेको छ । विद्युत् आयोजनाले विद्युत् निर्यात सुरु गरे ५ वर्षसम्म बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट) मा १ प्रतिशत बिन्दुले मात्र थप गरी कर्जा प्राप्त हुन सक्ने व्यवस्था मिलाउने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । मौद्रिक नीतिमार्फत आएको यस्तो सुविधा कार्यान्वयन भए विद्युत् निर्यातमुखी विद्युत् आयोजनाहरूले सस्तो ब्याजदरमा ऋण प्राप्त गर्न सक्नेछन् ।
यस्तै, जलाशययुक्त आयोजना प्रवर्द्धनका लागि पनि मौद्रिक नीतिले यस्तै सुविधा दिने घोषणा गरेको छ । जलाशययुक्त आयोजनाले भने निर्माण अवधिदेखि नै यस्तो सुविधा पाउने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । ‘जलाशययुक्त आयोजनालाई पनि आधार दरमा १ प्रतिशत बिन्दुले मात्र थप गरी कर्जा प्राप्त हुन सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ । विद्युत् आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइन निर्माण नभएर उत्पादन सुरु हुन नसकेको अवस्थामा ब्याज रकम आंशिक रूपमा पुँजीकरण गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।

डिजिटल भुक्तानीमा स्थायित्वको प्रयास
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र डिजिटल भुक्तानी सेवा प्रदायकलाई कारोबार संख्या बढाउन दबाब दिने नीति ल्याएको छ ।
भुक्तानी सेवा प्रदायकको अनुमति पाएका संस्थाले आगामी असार मसान्तसम्म कम्तीमा ३ लाख ग्राहक नपुर्‍याए र मासिक औसत कारोबार ६ लाख नपुगेमा अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरू सञ्चालनका लागि दिइने अनुमतिपत्र दिने काम स्थगित गर्ने घोषणा गरिएको छ । यसअघि अनुमतिपत्रका लागि सैद्धान्तिक सहमति दिइएकाबाहेक अन्य अनुमतिपत्र जारी नगरिने राष्ट्र बैंकले जनाएको छ । हालसम्म भुक्तानी प्रणाली सञ्चालक (पीएसपी) ९ वटा र १४ वटा भुक्तानी सेवा प्रदायक (पीएसओ)ले राष्ट्र बैंकबाट अनुमति पाएका छन् । झन्डै दर्जन कम्पनीले आवेदन दिएका छन् ।
विद्युतीय भुक्तानीमा क्यूआर कोडमार्फत हुने भुक्तानी व्यवस्थित गर्न मार्गदर्शन जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । नेपालभित्र हुने विद्युतीय कारोबारको अभिलेख राख्न राष्ट्रिय भुक्तानी स्विचको स्थापना गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । 

 

अर्थ वाणिज्य

मूल्यवृद्धि काबुमा राख्ने चुनौती : कांग्रेस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्रको विस्तारका लागि स्रोतको उपलब्धतालाई पर्याप्त ध्यान दिएको नेपाली कांग्रेसले बताएको छ । कांग्रेसको लगानी, पूर्वार्धार र रोजगार केन्द्रीय समितिले विज्ञप्तिमार्फत आफ्नो धारणा व्यक्त गरेको हो । विस्तार भएअनुसार यसको पूर्ण उपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि/परिपत्रमार्फत सरलीकरण गर्नुपर्ने समितिको सुझाव छ ।
‘कोभिड–१९ का कारण व्यावसायिक क्षेत्रमा देखिएको शैथिल्य अन्त्य गर्न सहुलियत ब्याजदरमा स्रोतको उपलब्धता मौद्रिक उपायबाट दिइने वास्तविक प्रोत्साहन हुन्,’ समितिका संयोजक विनोद चौधरीले भने, ‘पुनर्कर्जा सुविधालाई सहजीकरण गरी द्रुत र पारदर्शी विधिमार्फत्उच्चतम उपयोगमा ध्यान दिनुपर्छ ।’
पुनर्कर्जा सुविधा थप एक सय अर्ब रुपैयाँ वृद्धि गरी २ खर्ब रुपैयाँ पुर्‍याउनुपर्ने, दीर्घकालीन रिपो तथा बैंक तथा वित्तीय संस्थालाई लिक्विडिटी (तरलता) सपोर्टका लागि कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) मा लचकता, कर्जा भुक्तानीको समयावधिमा लम्ब्याउने र अवसाद (डिप्रेसन) को अवस्थामा रहेको सेयर बजारमा सुधारका लागि सेयर धितोमा प्रवाह हुने कर्जाको अनुपातमा वृद्धि राम्रो पक्ष भएको बताइएको छ ।
‘अर्थतन्त्रको विस्तारका लागि स्रोतको उपलब्धतालाई पर्याप्त ध्यान दिएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पुनर्कर्जा कोष विस्तार भएअनुसार यसको पूर्ण उपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि/परिपत्रमार्फत् सरलीकरण गर्नुपर्ने देखिन्छ ।’ कोभिड–१९ का कारण व्यावसायिक क्षेत्रमा देखिएको शैथिल्य अन्त्य गर्न सहुलियत ब्याजदरमा स्रोतको उपलब्धता मौद्रिक उपायबाट दिइने वास्तविक प्रोत्साहन हुने समितिका संयोजक चौधरीको भनाइ छ । ‘पुनर्कर्जा सुविधालाई सहजीकरण गरी द्रुत र पारदर्शी विधिमार्फत उच्चतम उपयोगमा ध्यान दिनुपर्छ,’ उनले भने ।
कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत पुर्‍याइएको भए पनि विगतमा सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत जारी भएको कर्जा सीसीडीमा गणना नहुने व्यवस्था खारेज भएकाले कर्जा–स्रोत परिचालनको प्रभावकारी अनुपात पुरानै अवस्थामा रहने समितिको निष्कर्ष छ । पछिल्ला वर्षमा बढाउँदै लगिएको कृषि, ऊर्जा र पर्यटनमा निर्देशित कर्जा कार्यक्रममा आव ०८०/८१ सम्म ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था मौद्रिक नीति ०७७/७८ मा घोषणा भएको छ । प्राथमिकता प्राप्त क्षेत्र कार्यक्रमहरूमा यसअघिको २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्थालाई क्रमशः वृद्धि गर्दै लैजाने उद्देश्य देखिन्छ । तर निर्देशित लगानीतर्फ बैंक तथा वित्तीय संस्थाहरूलाई दबाब बढाउँदै जाने कदममा पुनर्विचार गर्नैपर्ने बताइएको छ ।
लगानीको स्रोत उपलब्धताका लागि कृषि र ऊर्जा बचतपत्र तथा दीर्घकालीन रिपोसम्बन्धी व्यवस्थालगायत सबै अवयव प्रयोगलाई खुला राखिनु सुखद् विषय हो । लगानी विस्तार, उत्पादन विकास र निर्यात प्रोत्साहनले मात्र मुद्रास्फीति ७ प्रतिशतको लक्षित सीमामा राख्न सकिन्छ । बढ्दो बेरोजगारी, अल्प रोजगारीका कारण उपभोक्ताहरूको आय क्षमतामा ह्रास आइराखेको परिप्रेक्ष्यमा गरिब र जोखिममा रहेका समुदायको संरक्षणका लागि मुद्रास्फीतिलाई काबुमा राख्नुपर्ने चुनौती कायमै रहेको बताइएको छ ।

अर्थ वाणिज्य

सडक आयोजनामा विश्व बैंकको ४५ करोड डलर

- कान्तिपुर संवाददाता
सम्झौतापत्र आदान–प्रदान गर्दै अर्थसचिव शिशिरकुमार ढुंगाना र नेपाल, माल्दिभ्स एवं श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसल ।
तस्बिर सौजन्य : अर्थ मन्त्रालय

काठमाडौं (कास)– नेपालमा आर्थिक गतिविधि बढाउन विश्व बैंकले सडक आयोजनामा ४५ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।
नेपाल सरकार र विश्व बैंकबीच शुक्रबार उक्त आयोजना सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले यातायात पूर्वाधारको क्षमता सुरक्षा, सुधारलगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्न सहयोग पुर्‍याउनेछ । साथै रणनीतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्नेछ ।
आयोजना नेपाल सरकार र विश्व बैंकबीच अहिलेसम्म भएको सबैभन्दा ठूलो रहेको जनाइएको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र नेपाल, माल्दिभ्स एवं श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आयोजनाले सीमापार बजारलगायत सडक सञ्जाल विस्तार र राष्ट्रिय एकीकरणलाई बढवा दिँदै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानलाई सघाउने अर्थमन्त्री खतिवडाले बताए ।

अर्थ वाणिज्य

सुदूरपश्चिममा आधा खर्च असारमै

- कान्तिपुर संवाददाता

धनगढी (कास)– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ को कुल खर्चमध्ये आधाभन्दा बढी खर्च असारमै गरेको देखिएको छ । त्यसमध्ये पनि असारको अन्तिम दिन ४८ करोड ९८ लाख ४९ हजार खर्च गरेको छ ।
आव ०७६/०७७ मा ६२ प्रतिशत बजेट खर्च भएको छ । यसमा चालुतर्फर् विनियोजित बजेट १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० करोड ३४ लाख ३४ हजार अर्थात् ५५.६७ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख बजेट रहेकोमा ९ अर्ब २८ करोड ८५ लाख अर्थात् ७१.५ प्रतिशत गरी ६२.८२ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जनाएको छ । कुल बजेट २८ अर्ब १६ करोड २० लाख थियो ।
असार २५ सम्मको कुल खर्च ४८ प्रतिशत मात्रै थियो । त्यति बेलासम्म १३ अर्ब ५२ करोड ४० लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले बताएको छ । तर त्यसपछिका ६ दिनमा खर्च बढेर १७ अर्ब ६९ करोड २० लाख १३ हजार अर्थात् ६२ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए । कुल खर्चको अंक पनि असारमा आएर मात्रै बढेको हो । जेठ मसान्तसम्म कुल खर्च ३३ प्रतिशत अर्थात् चालुमा ५ अर्ब ४८ करोड ९२ लाख थियो । पुँजीगत खर्च ३ अर्ब ८१ करोड १४ लाख मात्र थियो । असार १५ सम्म पुग्दा कुल खर्चमा झन्डै पाँच प्रतिशत वृद्धि भएर साढे ३७ प्रतिशत पुगेको थियो ।
‘असारको २५ दिनमा कुल खर्च झन्डै १५ प्रतिशत बढेको थियो । अन्तिम ६ दिनमा थप १५ प्रतिशत जति खर्च बढेको देखियो,’ जोशीले भने, ‘असारमा आएर खर्च बढ्ने पुरानै प्रवृत्ति हो ।’ मन्त्रालयहरूमध्ये सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च छ । उक्त मन्त्रालयले ८ अर्ब २६ करोड २५ लाख अर्थात् ८७.६९ प्रतिशत खर्च गरेको छ । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कुल एक अर्ब ९२ करोड ९४ लाख अर्थात् ५७.९७ प्रतिशत खर्चिएको छ ।

Page 10
अर्थ वाणिज्य

‘प्रभावकारिता कार्यान्वयनमा निर्भर’

- कान्तिपुर संवाददाता

नियमन र सुपरिवेक्षण बलियो बनाउनुपर्छ

चिरञ्जीवी नेपाल , निवर्तमान गभर्नर

मैले ‘थ्री आर’को कुरा गरेको थिएँ– रि–स्टक्चर, रि–
सेड्युअल र रिलिफ । मौद्रिक नीतिमा तीनवटा आरलाई समेटिएको छ । केन्द्रीय बैंकले जति गर्न सक्ने हो, मौद्रिक नीतिमा गरेको छ । तर एउटा समस्या पैसा बजारमा प्रशस्त आउने भयो । पैसा आइसकेपछि त्यसको सही उपयोग हुन्छ कि हुँदैन भन्ने महत्त्वपूर्ण हो । सीसीडीको सीमा बढाएर ८५ प्रतिशत बनाइएको छ । यसले मुद्रास्फीतिमा पनि चाप पर्ने र गलत तरिकाले पैसाको उपयोग हुन सक्छ । त्यसो हुन नदिन नियमन र सुपरिवेक्षण प्रभावकारी बनाउनुपर्छ ।
अहिलेको स्थितिमा अर्थतन्त्रलाई जसरी पुनर्जीवन गर्ने गरियो, त्योअनुसार सुपरिवेक्षक र नियमन कडा गर्न जरुरी छ । किनभने यसले मुद्रास्फीतिलाई पनि असर गर्छ । अहिले पनि बजारमा पर्याप्त तरलता छ । मौद्रिक नीतिले यसै पनि पैसा दियो । जसले गर्दा व्यापार व्यवसाय गर्ने मान्छेलाई सहयोग गरेको छ । भोलि व्यापार व्यवसाय चलेन भने अहिलेको बढी पैसाले अप्ठ्यारो परिस्थति आउन सक्छ । मौद्रिक नीति कोभिडलाई सम्बोधन गर्ने गरी आएको छ । अर्को वर्ष आर्थिक वर्ष ७ प्रतिशत हुने भनेको छ । त्यो सम्भावना छैन । आर्थिक क्रियाकलाप बिस्तारै बढ्दै जाने कुरामा यसले मद्दत गरेको छ । मौद्रिक नीति कोभिडलाई सम्बोधन गर्ने गरी आएको छ । राष्ट्र बैंक नियामक निकाय हो । उद्योगी व्यवसायीका सबै माग पूरा गर्नुपर्छ भन्ने छैन । समग्रमा मौद्रिक नीति सकारात्मक छ ।

 

पुनःसंरचनाको विषय सम्बोधन भयो

भवानी राणा ,अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सरसर्ती हेर्दा मौद्रिक नीति हाम्रा लागि राम्रै देखिएको छ । हामीले सधैं उठाउँदै आएको पुनःसंरचनाको विषय राम्रोसँग सम्बोधन भएको छ । ३, ६ महिना र एक वर्षका लागि कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने अवधि थपिएको छ । त्यसमा पनि पर्यटन उद्योगलाई हेरेर समय लम्ब्याउने भनिएको छ । त्यही भएर यसमा राम्रो छ । त्यस्तै अर्को पुनर्कर्जामा ३ र ५ प्रतिशत भन्ने आएको छ । यसको कार्यविधिमा एक/दुई कुरा उठाएका थियौं । त्यो आउन बाँकी छ । चालु पुँजी २० प्रतिशत थप लिन सकिने भन्ने कुरा आएको छ । सीसीडी रेसियो ८५ प्रतिशत भएको छ । ब्याजदर घटाउन पनि निजी क्षेत्रले सुझाव दिएका थियौं ।

नीति कार्यान्वयनलाई छिटो कार्यविधि बनोस्


सतीशकुमार मोर
अध्यक्ष, नेपाल उद्योग परिसंघ
परिसंघको सल्लाहअनुसार धेरै कुरा मौद्रिक नीतिमा आएका छन् । ब्याजदर घटाउन र तरलता बढाउन २० प्रतिशतसम्म नगद प्रवाहको समस्या सम्बोधन गर्न, पुनर्कर्जा,पुनःसंरचना र सीसीआर ८० देखि ८५ प्रतिशत गरिएको छ । यसले बैंकमा ब्याजदर घट्छ । तरलता बढी भयो भने ब्याजदर घट्छ । यी सबै सकारात्मक विषय हुन् । आर्थिक क्षेत्र चलायमान बनाउन मौद्रिक नीतिको कार्यविधि छिटोभन्दा छिटो बनाउनुपर्छ । कार्यान्वयनका लागि सहजीकरण गर्नुपर्छ । नीतिले उद्योग सञ्चालनको वातावरण बन्छ ।

निजी क्षेत्रका व्यावहारिक कुरा समेटिए


राजेशकाजी श्रेष्ठ
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
मौद्रिक नीति सकारात्मक छ । निजी क्षेत्रका व्यावहारिक कुराहरू बुझेर मौद्रिक नीतिमा समेटिएको छ । निजी क्षेत्र र चेम्बरले दिएका सुझाव बजेटमा पनि आएको भए सुनमा सुगन्ध हुने थियो । आर्थिक गतिविधि अझ बढ्थे । मौद्रिक नीतिले पर्यटन, लघुवित्त, आयातनिर्यातलगायत सबै क्षेत्र छोएको छ । विशेष कृषिमा १० बाट १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने भनेको छ । यसले कृषिमा रोजगारी बढ्छ । कृषिमा आत्मनिर्भर पनि बनाउँछ । ब्याज/कर्जाको समय बढाइदिएर अति प्रभावितलाई १२ महिना, मध्यमलाई ९ महिना र कमलाई ६ महिना दिनु राम्रो सुरुवात हो । सीसीडी पनि ८० बाट ८५ प्रतिशत गरिएको छ । यसले तरलता पनि बढ्छ । एउटा स्प्रेडदरलाई के गर्ने मिलाइदिएको भए ब्याजदर घट्थ्यो कि ? पुनर्कर्जा ५ प्रतिशतमा उपलब्ध हुने व्यवस्था गरिएको छ । हामीले ३ प्रतिशतसम्म भनेका थियौं । त्यसो भएको भए अझ राम्रो हुन्थ्यो । सबैलाई राहत हुन्थ्यो । कोभिडको प्याकेज ५ गुणासम्म वा वाणिज्य बैंकले हेरेर सबैले गर्ने भनेको स्वागतयोग्य छ । तर बैंकले दिए, नभएको निरीक्षण गर्नुपर्छ । कार्यान्वयन भए, नभएको अनुगमन गर्नुपर्छ ।

सबैलाई समेट्न खोजेको छ


पवन गोल्यान
अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ
मौद्रिक नीतिले सबैलाई समेट्न खोजेको छ । त्यो एकदमै राम्रो हो । सहुलियतपूर्ण कर्जा माग गरिएको थियो । त्यो सम्बोधन भएको छ । हाइड्रोपावर १० प्रतिशत हटाइएको छ । विगतमा हाइड्रोपावर र कृषि एकै क्षेत्रमा थियो । हाइड्रोपावर होटल/टुरिजम क्षेत्रसँग जोडिएको थियो । अलगअलग भएपछि राम्रो भयो । १० प्रतिशत हाइड्रोपावरमै लगानी गर्नुपर्ने भएपछि राम्रो कुरा हो । त्यो आवश्यकताको कुरा हो । रियल इस्टेटमा अलिकति बढाएर ६० प्रतिशत भयो । यो अझै पुगेन । अझै बढाउनुपर्थ्यो । अर्थतन्त्र चलायमान हुन्थ्यो । डन्डी, सिमेन्टदेखि सबै किसिमका उद्योग चलायमान हुन्थे । निर्माण क्षेत्र पनि चलायमान हुन्थ्यो । यो ५० देखि ६० प्रतिशत गरियो । अझै पुगेको छैन । मर्जरका लागि केही कुरा दिइएको छ । सीसीडीलाई ८० बाट ८५ प्रतिशत गरिएको छ । त्यो राम्रो हो । साना तथा मझौला उद्यमी (एसएमई) को माग पनि सम्बोधन भयो । सानालाई जोगाउन सुरुदेखि माग गरिरहेका थियौं हामीले । त्यो सम्बोधन भएको छ । पर्यटन क्षेत्रका धेरै विषय सम्बोधन भएका छन् । यीबाहेक अलि डिटेल बुझ्नुपर्नेछ । अझै हेर्न बाँकी छ । मौद्रिक नीतिले प्रायः सबै समेटेको छ । कोभिडका लागि पनि बजेटले सम्बोधन नगरेको, नीति तथा कार्यक्रमले केही समेटेको र समेट्न छुटेका कुरालाई मौद्रिक नीतिले सम्बोधन गर्न खोजेको छ ।

उत्साहित छौं


रीता सिंह
अध्यक्ष, महिला उद्यमी महासंघ
मौद्रिक नीति सकारात्मक छ । यसले हामीलाई प्रोत्साहन गरेको छ । महिला उद्यमी उत्साहित छौं । नीतिले बैंक कर्जाको अवधि बढाइदिएको छ । २ प्रतिशतमा कर्जाको एसएमई तिर्ने भनेको प्रोत्साहनमूलक छ । समग्रमा मौद्रिक नीति उत्कृष्ट छ । यसको कार्यान्वयन राम्रो होस् ।

अटोमोबाइल्स क्षेत्र समेटिएन


कृष्णप्रसाद दुलाल
अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
अन्य व्यवसायीलाई केही समेटे पनि अटोमोबाइल्स क्षेत्र नीतिमा समेटिएन । हामीले डाउन पेमेन्ट १० प्रतिशत गर्न पाउनुपर्छ भन्ने सुझाव दिएका थियौं । त्यसको सम्बोधन भएन । मौद्रिक नीतिमा डाउन पेमेन्टको कुरा सच्याउनुपर्छ । त्यसमा हाम्रो विरोध छ । यसबाहेक ‘लोन–सेटेलमेन्ट’को कुरा थियो । हाउजिङ लोन बढाइयो । तर अटोमोबाइल्स क्षेत्रलाई यसमा समेटिएन । सवारी ऋण लिएकालाई नीतिले केही समेट्यो । तर नयाँ खरिद गर्नेलाई मौद्रिक नीतिले समेटेन । कोरोना भाइरसका कारण करिब ३ महिनाको बन्दाबन्दी र हालको आंशिक बन्दाबन्दीका कारण झन्डै धराशायीको अवस्थामा पुगेका छौं । अटोमोबाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावप्रति पुनर्विचारका लागि अनुरोध गर्दछौं । राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुका रूपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई निरन्तरता दिएको छ । हालसम्म कायम रहेको ‘हायर पर्चेज लोन’ का सन्बन्धमा करयोग्य आयको कुल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि मौद्रिक नीतिले निरन्तरता दिएको छ ।

कोभिडको प्रभाव न्यूनीकरण गर्ने नीति


किरणकुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक
कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने सम्बन्धमा बढी ध्यान दिएर नीति आएको देखिन्छ । अहिले किस्ता, ब्याज तिर्ने समयलाई बढाउने कुरा भएको छ । पुनर्कर्जाका कुरा, कृषिक्षेत्रको लगानीलाई पनि १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याउने कुरा आएका छन् । अहिले उत्पादन र रोजगारी वृद्धि गर्नेलगायत कुरामा सकारात्मक ढंगले नीतिले सम्बोधन गरेको देखिन्छ । सीसीडी ८५ प्रतिशत गर्नुपर्छ भन्ने कुरा धेरै अघिदेखि बोल्दै आए पनि बल्ल सम्बोधन गरिएको छ । कोभिड–१९ प्रभावितलाई पनि वर्गीकरण गरिएको छ । यसले अहिले जुन जल्दोबल्दो समस्याका रूपमा देखिएको विषय सम्बोधन भए जस्तो लाग्छ । समग्रमा नीति सकारात्मक छ ।

कृषि कर्जामा बढी केन्द्रित


गोविन्दप्रसाद ढकाल
अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसन
सरकारले तोकिदिएको ७ प्रतिशत मुद्रास्फीतिलाई लक्ष्य गरेर मौद्रिक नीति आएको छ । यसलाई कृषि कर्जामा बढी केन्द्रित गरिएको छ । वाणिज्य बैंकले न्यूनतम १५ प्रतिशत लगानी गर्ने भनिएको छ । कोभिडको प्रभावले गर्दा अति प्रभावित, प्रभावित र कम प्रभावित गरेर तीन वर्गमा छुट्याएर ०७७ पुस मसान्त, ०७७ चैत मसान्त र ०७८ असार मसान्तसम्म एक वर्षका लागि ‘ग्रेस परियिड’ र पुनर्तालिकीकरण जस्ता कुरामा बैंक तथा वित्तीय संस्थालाई स्वीकृति दिइएको छ । यसले गर्दा व्यवसायीले उठाएका माग सम्बोधन भएको अवस्था छ । त्यस्तै कमर्सियल बैंकका लागि विभिन्न संस्थामा एकाध घरका व्यक्ति प्रत्यक्ष, अप्रत्यक्ष रूपमा संलग्न भएको अवस्था छ । तिनलाई मर्ज गर्ने, त्यसो गर्दा गत साल दिएकाभन्दा थप एसएलआर, सीआरआरमा केही छुटको व्यवस्था गरिएको छ । मर्ज भइसकेपछि सञ्चालक समितिलाई ‘कुलिङ पिरियड’ राखिएको थियो । अब ‘कुलिङ पिरियड’ नलाग्ने व्यवस्था गरिएको छ । यसले गर्दा मर्ज गर्न उत्प्रेरित गर्ने र मर्ज गर्ने सम्भावना धेरै रहन्छ । बैंक तथा वित्तीय संस्थाका हरेक शाखाबाट सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । यसले गर्दा हाल पहुँच नभएका नागरिकसमक्ष पनि सहुलियतपूर्ण कर्जा पुग्ने व्यवस्था गरिएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । समग्रमा पुनर्कर्जाका कुरादेखि कर्जा अवधिका कुरा छन् । मौद्रिक नीतिले जुन कुरा ल्याउनुपर्ने थियो । त्योअनुसार मौद्रिक नीति आएको छ । समग्रमा यसले गर्दा बैंक वित्तीय संस्थाका आम्दानी घट्ने कुरा छन् । बैंक वित्तीय संस्थाको नाफामा यसले असर गर्ने त देखिन्छ । आम्दानीमा केही कम गर्छ ।

बैंकिङ क्षेत्रको स्थायित्वलाई सघाउँछ


रोशनकुमार न्यौपाने
प्रमुख कार्यकारी अधिकृत, एनआईसी एसिया बैंक
मौद्रिक नीति सन्तुलित रूपमा आएको छ । खासगरी ऋणीलाई कोरोनाका कारणले जुन अप्ठ्यारो परिराखेको थियो, त्यसलाई सम्बोधन गर्ने हिसाबले आएको छ । यसले बैंकिङ क्षेत्रको स्थायित्वका लागि सपोर्ट गर्ने देखिन्छ । मौद्रिक नीतिले सबै क्षेत्रलाई समेटेको छ । राम्रो अध्ययन गरेर ल्याइएको छ । कोरोनाले गर्दा मुलुकमा जुन अवस्था सिर्जना भएको छ, त्यसलाई सम्बोधन गर्ने गरी आएको छ । त्यही भएर नीतिले सबै क्षेत्रको सुझावलाई समेट्न खोजेको देखिन्छ । विगत वर्षको भन्दा अझै परिष्कृत गरेर ल्याइएको छ ।

विद्युतीय कारोबारलाई प्रोत्साहन राम्रो


नीलेशमानसिंह प्रधान
प्रमुख कार्यकारी अधिकृत, नेपाल क्लियरिङ हाउस
विद्युतीय भुक्तानी कारोबारलाई नै प्रोत्साहन गर्ने कुरा मौद्रिक नीतिको उद्देश्यमा परेको छ । यो सकारात्मक हो । मौद्रिक नीतिले उठाएको एउटै पेमेन्ट स्विचभित्रबाट कारोबार गराउन ‘नेसनल पेमेन्ट स्विच’ स्थापना गर्ने विषय पनि उपयोगी छ । कार्ड र एटीएमको नेसनल पेमेन्ट स्विच नआएसम्म कम मूल्यमै रोकिने भनिएको छ । जुन पीएसपी र पीएसओ भनेर लाइसेन्स जारी गरिएको छ, त्यसलाई सैद्धान्तिक सहमति (एलओआई) पाइसकेको हकमा बाहेक नयाँ लाइसेन्स अहिलेका लागि स्थगन गरिएको कुरा आएको छ । यसले भुक्तानी क्षेत्रमा स्थायित्व ल्याउन सहयोग गर्छ । भुक्तानी प्रणालीको संख्या संरचनासँगै कारोबार बढाउन लक्ष्य तोकिएको छ । जुन भुक्तानी सेवा प्रदायक (पीएसपी) ले ०७७/७८ असार मसान्तसम्म ३ लाख ग्राहक बनाउनुपर्ने र औसत महिनामा ६ लाख कारोबार गर्नुपर्ने भन्ने लक्ष्य तोकिएको छ । अब यसले लाइसेन्स लिएर बस्ने, काम नगर्ने भन्ने हुँदैन । समग्रमा राम्रो नतिजा ल्याउँछ ।

Page 11
समाचार

बनारसमा नेपाली युवकमाथि दुर्व्यवहार

- सुरेशराज न्यौपाने

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिको विरोधमा बनारसस्थित पशुपतिनाथ मन्दिरमा पोस्टर टाँस्नुका साथै नेपाली युवकमाथि दुर्व्यवहार गरिएको छ । ललिताघाटस्थित पशुपतिनाथ मन्दिरमा बुधबार विश्व हिन्दु सेनाले पोस्टर टाँसेको हो । त्यही संगठनका कार्यकर्ताले एक नेपाली युवकको कपाल मुन्डन गर्दै टाउकामा श्रीराम लेखाएर प्रधानमन्त्री ओली र नेपालको विरोधमा नारा लगाउन लगाएका थिए ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले घटनाबारे उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन कुराकानी गरेका छन् । आचार्यका अनुसार मुख्यमन्त्री आदित्यनाथले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यस विषयमा योगीजीसँग कुरा भयो । उहाँले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाउनुका साथै कानुनी प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो,’ राजदूत आचार्यले कान्तिपुरसँग भने ।
मन्दिरमा टाँसिएका पोस्टरमा ओलीले अयोध्याबारे गरेको टिप्पणी फिर्ता लिन चेतावनी दिइएको छ । पोस्टर टाँसेको विषयलाई मन्दिर प्रशासनले तत्कालै दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो । त्यसपछि दूतावासले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । मन्दिर प्रशासनका अनुसार घटनालगत्तै स्थानीय प्रशासनले मन्दिरको सुरक्षा व्यवस्था कडा पारेको छ । नेपालीको कपाल मुन्डन गर्दै टाउकामा श्रीराम लेखाएको भिडियो संगठनका अध्यक्ष पाठकले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । बनारसको भेलुपुरु प्रहरीले पाठक र उनका कार्यकर्ताविरुद्ध बिहीबार मुद्दा दायर गरिसकेको छ । बनारस प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै भिडियो बनाउने व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र तिनीहरूविरुद्ध जाहेरी दायर भएको बनारसका एसएसपी अमित पाठकले बताएका छन् ।
घटनालाई लिएर भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले पनि खेद प्रकट गरेको छ । पार्टीका
विदेश विभाग प्रमुख विजय चौथाइवालेले ट्वीटमार्फत नेपाली युवकमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेका छन् । ‘बनारसमा केही मानिसले नेपाली युवकको मुन्डन गरेको समाचार अत्यन्त निन्दनीय छ,’ चौथाइवालेले ट्वीट गरेका छन् ।

समाचार

‘पत्रकारको रोजगारीको हक सुनिश्चित गर’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय मानवअधिकार आयोगले पत्रकारलाई उचित पारिश्रमिकसहित रोजगारीको हक सुनिश्चित गर्न सञ्चार प्रतिष्ठान तथा नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ महामारीको असहज परिस्थितिमा समेत जोखिममा रही सूचना सम्प्रेषणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका सञ्चारकर्मीको श्रमको सम्मान गर्न भनेको छ ।
आयोगले श्रमजीवी पत्रकारहरू संविधानको धारा ३४ को उपधारा (१) र (२) बमोजिमको श्रम, सुविधा, पारिश्रमिक र सामाजिक सुरक्षाको हकबाट वञ्चित हुन पुगेको उल्लेख गरेको छ । पत्रकारले सत्यतथ्य सूचना संकलन गर्ने वातावरण कायम हुन नसके नागरिकको सुसूचित हुने मौलिक हकसमेत प्रभावित हुने भन्दै आयोगले श्रमजीवी पत्रकार ऐनको व्यवस्थामा पनि ध्यानाकर्षण गराएको छ ।

Page 12
खेलकुद

घरमा रियल ‘राजा’

कारोना भाइरस संक्रमणको महामारीपछि फेरि सुरू भएको लिगमा रियलको प्रदर्शन ठोस, सुदृढ र परिपक्व सबै रह्यो । त्यसैले रियल खेलेका सबै १० खेलमध्ये १० मै विजयी रह्यो । यी खेलको कुनै पनि अवसरमा रियल पछाडि पर्नुपरेको स्थिति बनेन ।
- द गार्डियन
प्रशिक्षक जिनेदिन जिदानलाई उचालेर खुसी साट्दै रियल म्याड्रिडका खेलाडी । ।तस्बिर : रोयटर्स

प्रशिक्षक जिनेदिन जिदान खुलेरै भन्थे, यसपल्ट रियल म्याड्रिडको मुख्य उद्देश्य हो, ला लिगा जित्नु । घरेलु लिगको उपाधि उनका यसपल्ट युरोपेली च्याम्पियन्स लिगभन्दा बढीको महत्त्वको थियो । भलै त्यही च्याम्पियन्स लिगमा प्राप्त सफलताका लागि रियललाई सम्झिने गरिन्छ । तर अब रियलले वास्तविकतामै घरेलु लिग जितेको छ । लिगमा एक चरणको खेल बाँकी छँदा भिल्लारियलमाथि प्राप्त जित लिग उपाधि दिलाउन पर्याप्त थियो ।
करिम बेन्जेमाले त्यसमा दुई गोल गरे । त्यसमध्ये एक गोल त पेनाल्टीबाट थियो । सर्जियो रामोसले सुरुमा त्यही पेनाल्टीबाट सिधै प्रहार नगरेर बेन्जेमालाई पास दिए । पछि त्यसलाई रेफ्री मान्यता नदिएपछि बेन्जेमा आफैंले प्रहार गरेका थिए । पछिल्लो १२ वर्षमा रियलले स्पेनिस लिग जितेको यो तेस्रोपल्ट मात्रै हो । यसैले पनि यसको महत्त्व बढेको छ । लगातार तीनपल्ट च्याम्पियन्स लिग जित्दाका प्रशिक्षक जिदानले यसपल्ट लिगबारेको सोचमा परिवर्तन ल्याए ।
यसले अन्त्य गरेको छ, स्पेनिस घरेलु फुटबलमा बार्सिलोनाको प्रभुत्व पनि । यसपल्ट लिगमा प्राप्त सफलता खासमा बेर्नाबेउमा प्राप्त भएको थिएन । टिमको अभ्यास मैदानमा चुलिएको सफलता रह्यो, त्यो पनि जम्माजम्मी तीन सय जनाको सानो हूलमा । अझ रियलले आफ्ना समर्थकलाई पारम्परिक रूपमा म्याड्रिडको मुख्य चोकमा जम्मा भएर खुसियाली नमनाउन भनेको छ । तर जसरी कप्तान रामोसले दोस्रो अवसरमा पेनाल्टी प्रहार गर्न बेन्जेमालाई नै मौका दिए, त्यसले देखाउँछ रियल यसपल्ट एकजुट छ अनि गम्भीर ।

 कप्तान सर्जियो रामोस ट्रफी चुम्दै (तल) ।तस्बिर : रोयटर्स

खेलपछि फ्रान्सेली प्रशिक्षक जिदानले भनेका छन्, ‘च्याम्पियन्स लिग भनेको च्याम्पियन्स लिग नै हो तर यसपल्ट हामीलाई ला लिगाले खुसी दिएको छ । यसपल्ट हाम्रो उद्देश्य यही लिग जित्नु थियो । खेलाडीले यो कामका लागि निकै कडा मिहिनेत गरेका छन् । मैले यो सफलताको शब्दमा व्याख्या गर्न सकिरहेको छैन किनभने म निकै भावुक भएको छु ।’ रियलले जिदानको नेतृत्वमा पछिल्ला चार वर्षमा ला लिगा जितेको यो दोस्रोपल्ट हो ।
कारोना भाइरस संक्रमणको महामारीपछि फेरि सुरु भएको लिगमा रियलको प्रदर्शन ठोस, सुदृढ र परिपक्व सबै रह्यो । त्यसैले रियलले खेलेका सबै १० खेलमध्ये १० मै विजयी रह्यो । यी खेलको कुनै पनि अवसरमा रियल पछाडि पर्नुपरेको स्थिति बनेन । एक प्रकारले लिग संक्षिप्त लिगमा परिणत भएको थियो र यसले रियललाई अन्ततः फाइदा पनि गर्‍यो । लिगको दोस्रो अन्तिम चरणका सबै खेल एकै समय भएका थिए, त्यसमा निकट प्रतिद्वन्द्वी बार्सिलोना हार्नुले रियलको यो सफलता अझ स्वादिलो बनेको छ ।
यसपल्ट रियलका लागि निर्णायक साबित खेलाडी बेन्जेमा रहे र विशेषतः लिग फेरि सुरु भएयता उनी कति धेरै छाएका थिए भन्नेको सबैभन्दा राम्रो उदाहरण त भिल्लारियलविरुद्ध उनका दुई गोल नै रहे । उनले पूरा लिगमा गरेको गोल संख्या २१ पुगेको छ । यी सबै गोल फरक–फरक १७ खेलमा मिलेको सफलता हो । रियल यो खेलमा जिततर्फ अग्रसर भइरहँदा भने नोउ क्याम्प सुनसानजस्तै थियो । बार्सिलोना हारतर्फ अग्रसर थियो, जसले क्लबका सबैलाई निराश मात्र पार्‍यो ।

खेलकुद

बार्सिलोनाकै चर्को आलोचक मेसी

- कान्तिपुर संवाददाता

जतिबेला डिफेन्डिङ च्याम्पियनका रूपमा बार्सिलोनाले त्यो हैसियत गुमाएको थियो, क्लबको सबैभन्दा चर्को आलोचक भएर निस्केका छन्, लियोनल मेसी । ओसासुनाविरुद्ध बेहोरेको हारमा उनी आफैं स्तब्ध थिए । उनलाई यो तथ्य स्विकार्न पटक्कै गाह्रो भएन, बार्सिलोना त कमजोर मात्र छैन, खेल्नै बिर्सेको स्थितिमा पुगेको छ । ओसासुनाविरुद्धको हारमा बार्सिलानोका लागि मेसीले एक गोल पनि गरे । त्यो फ्रि–किकमा सम्भव सुन्दर गोल थियो ।
तर त्यसको खासै अर्थ भएन । बार्सिलोना १० खेलाडीमा सीमित ओसासुनाविरुद्ध हार आत्मसात् गर्न बाध्य रह्यो । त्यसैले खेलपछि मेसीका सबै रिस पोखिएका थिए । मेसीले भने, ‘आजको खेलमा हामीले जसरी खेल्यौं र हार बेहोर्‍यौं, त्यसले पूरा सिजन हाम्रो प्रदर्शन कस्तो रह्यो भनेर देखाउँछ । नोउ क्याम्पमा खेल सकिँदा खेलाडी मात्र होइन, पूरा रंगशाला नै चुपचाप शान्त देखिएको थियो । मेसीले रिसको कारण टिमको खराब प्रदर्शनसँगै रियलको सफलता पनि थियो ।
उनले भने, ‘रियलले लिग सुरु भएयताका सबै खेल जित्न सफल रह्यो । यो उसको राम्रो प्रदर्शन हो । तर हामीले पनि रियललाई लिग जित्न सहयोग गरेका छौं । हामीले जसरी खेल्यौं, त्यसको आलोचना आवश्यक छ, विश्लेषण गर्नु जरुरी छ । यो आलोचना खेलाडीबाट सुरु हुनुपर्छ र पूरा क्लबको माथिल्लो
तहसम्म नै पुग्नुपर्छ । धेरैले भन्ने गर्छन्, रियलले राम्रो खेलेर लिग जित्यो तर मेरो दृष्टिकोणले हामीले किन हार्‍यौं भने हामीले राम्रो खेल्न सकेनौं ।’
मेसीले अगाडि थपे, ‘हामी सबैको अनुभव के हो भने खेलाडीले प्रयास गरेको नै हो । तर यत्तिको मिहिनेतले पनि पुगेन । आजकै खेलमा पनि ओसासुनाविरुद्ध हामीले सक्दौ खेल्यौं तर राम्रो गर्न सकेनौं । यो नै पूरा सिजनको कथा हो । हामीले आफ्नो प्रतिद्वन्द्वीलाई पनि सम्मान गर्नुपर्छ ।’
रियलको जित र बार्सिलोनाको हारले सबैभन्दा बढी दबाब भने प्रशिक्षक क्विक सेटिनलाई भएको छ । त्यही बुझेर मेसीले थपेका छन्, ‘अबको केही दिनमा राम्रो गर्ने हो भने ठूलै परिवर्तन चाहिन्छ ।’

खेलकुद

अरुणादेखि तारादेवीसम्म खेतीपातीमै

- घनश्याम खड्का
 तस्बिर : घनश्याम/कान्तिपुर

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेपछि अन्य क्षेत्रजस्तै खेल गतिविधि पनि शून्य छ । खेलकुदका गतिविधि सुस्ताएसँगै गाउँ फर्केका कतिपय खेलाडी कृषि कर्ममा रमाएका छन् । यीमध्ये एक हुन्, राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही ।
सहरमा लकडाउनले दैनिकी कष्टकर बनेपछि रघुगंगा गाउँपालिका–३ पिप्ले घर फर्केकी अरुणाको दैनिकी अहिले खेतीपातीमा व्यस्त छ । हरेक दिन प्रशिक्षण वा खेल प्रतियोगिताका लागि मैदानमा देखिने उनको यतिबेला भने बिहान चिया नास्तापछि धानखेत वा कोदोबारीमा पुग्नु दैनिकी बनेको छ । फेरिएको दैनिकीले भलिबल कप्तान कुशल रोपाहार भएकी छन् ।
‘धान रोपेर सकियो । हिजोआज बारीमा कोदो रोप्दैछु,’ उनले सुनाइन्, ‘लकडाउनलगत्तै घर फर्केर बारीमा रोपेका मकै पनि पाकिसके । अझै खेलमा फर्कने छाँट छैन । एउटा रुटिनमा चल्ने गरेको खेलजीवन अस्तव्यस्त भएको छ ।’ गाउँमै साथीभाइसँग फुर्सदमा भलिबल खेलौं भने पनि निरन्तरको झरीले खेल्न नपाएको उनले सुनाइन् । भनिन्, ‘खेल्नै बिर्सेला भन्ने डर लागेको छ ।’ भलिबललाई हिर्काउने उनका बलिया हात आजभोलि कहिले धानखेतमा चल्छ त कहिले कोदोबारीमा । अनि कहिले छुपुछुपु धान रोप्छिन् । अग्लो कदकी सुकिलो पहिरनमा खेल मैदानमा देखिने अरुणा धानखेतमा साथीसंगीसँगै रोपाहार र हलिबाउसेसँग हिलो छ्यापाछ्यापमा पनि उत्तिकै रमाइन् ।
अरुणामात्र होइन, राष्ट्रिय महिला भलिबल टिमकै अर्की खेलाडी कमला पुनको दैनिकी पनि चार महिनादेखि पुर्ख्यौली गाउँमा खेतीपाती र बस्तुभाउ स्याहार्दै बित्ने गरेको छ । पुलिस क्लबमा आबद्ध कमला पनि मालिका गाउँपालिका–३ रुमस्थित खेतीकर्ममै दिन गुजारेकी छन् । धान, कोदो रोप्ने, घाँस काट्ने, आलु खन्ने काममा उनले पनि चार महिना बिताइसकिन् । ‘गाउँमा सधैं गरिरहेको काम गर्न समस्या छैन । तर लामो समयदेखि खेल अभ्यास नहुँदा भने लय टुट्ने डर लागेको छ,’ कमलाले भनिन्, ‘लकडाउन खुल्नेबित्तिकै प्रशिक्षणमा फर्कने योजनामा छु ।’
यस्तै भारोत्तोलनकी खेलाडी तारादेवी पुनको दैनिकी पनि फेरिएको छ । भारोत्तोलनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय पदक जितिसकेकी पुन हिजोआज जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित पुर्ख्यौली गाउँमा खेतीपातीमै व्यस्त छन् । भलिबलबाट खेलजीवनमा प्रवेश गरेकी तारादेवी ०५८ देखि भारोत्तोलन खेलाडी भएकी हुन् । लकडाउनका कारण भने उनी पनि यतिबेला कृषिकर्ममा फर्केकी हुन् । बलियी तारादेवी बाउसे गर्न, घाँस काट्ने र भारी बोक्ने काममा व्यस्त छिन् । ‘यतिबेला कृषिकर्ममा लय फर्कियो, तर लामो समयदेखि अभ्यास छुटेपछि भारोत्तोलनको लय टुटेको छ,’ उनले सुनाइन्, ‘भारी बोक्ने र भारोत्तोलन उठाउने दुवै ‘पावर’ को काम भए पनि तालमेल मिल्दै नमिल्दोरहेछ ।’
फलामसँग खेल्ने मान्छेलाई माटोसँग खेल्न सजिलो भए पनि ढल्कँदो उमेरमा भारोत्तोलनको नियमित अभ्यासमा लामो ग्याप हुँदा चिन्ता लागेको उनले बताइन् । ‘मलाई अब फेरि शून्य तहबाट अभ्यास थाल्नुपर्छ । नियमित अभ्यास टुटेकाले गेमको लय रिकभर गर्न ४–५ महिना लाग्नेछ,’ उनले भनिन् ।
जुकाको टोकाइले रगताम्मे खुट्टा देखाइन् उनले । ‘जुकालाई भए पनि रक्तदान गरेकै छु । तर ज्यानलाई अभ्यासको लोड नपुग्दा मोटाएको छु । घामपानीमा खेतीपाती गर्दा रूप नै बिग्रेको छ । फोटोचाहिँ नखिच्नुहोला,’ उनले भनिन्, ‘लकडाउनमा घर फर्कंदा आलुको तीनपात लागेका थिए, अहिले खनेर खाँदै छौं । एक बाली पाक्यो तर खेल गतिविधि लयमा आएन ।’ अरुणा, कमला, तारादेवी सबै १३ औं दक्षिण एसियाली खेलकुदका पदकधारी खेलाडी हुन् ।
लकडाउनले फुर्सदमा रहेकी राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाही म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेस्थित धान रोपाइँमा रमाउँदै ।

खेलकुद

‘प्रदेश सरकारले सम्मानमा विभेद गर्‍यो’

- कान्तिपुर संवाददाता

प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलका प्रशिक्षकलाई भेदभाव गरेको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।
ह्यान्डबल खेलका महिला टिम प्रशिक्षक उदयपुरकी बिन्दा थापाले प्रदेश सरकारले सम्मानमा खेलाडी र प्रशिक्षकबीच विभेद गरेको बताइन् । ‘प्रदेश सरकारले खेलाडीसँगै प्रशिक्षकलाई राखेर एउटा प्रमाणपत्र दिएर सम्मान गर्दा सबैको मनोबल बढ्ने थियो,’ उनले भनिन्, ‘प्रदेश सरकारको यो कामले खेलाडी र प्रशिक्षकबीच सम्बन्ध बिगारेको छ ।’ पदक जितेपछि खेलाडीले पुरस्कार पाउँछन् भने प्रशिक्षकले किन मिहिनेत गर्ने भन्ने प्रश्न उब्जिएको उनको भनाइ थियो । ‘प्रदेश सरकारले खेलाडीकै अगाडि प्रशिक्षकलाई डोमिनेट गर्ने काम गरेको छ,’ उनले भनिन्, ‘प्रशिक्षकबिना खेलाडीले खेल्न सक्छ ?’ यस्तै, क्रिकेट खेलका प्रशिक्षक मोरङका प्रदीपराज पाण्डेले कुनै पनि खेलमा सुरुवातदेखि पदक प्राप्त गर्ने अवस्थासम्म लग्नेमा प्रशिक्षकको प्रमुख भूमिका हुने गरेको बताए ।
‘प्रशिक्षकबिना खेलाडीले सफलता हात पार्न सक्दैन, त्यसैले खेलाडी र प्रशिक्षकलाई सम्मानमा विभेद गर्नु उचित होइन,’ उनले भने, ‘खेलाडी र प्रशिक्षक सिक्काका दुई पाटा हुन्, अलग हुन सक्दैन तर प्रदेश १ सरकारले अलग गर्ने प्रयास भयो ।’
प्रशिक्षक पैसाको भोको होइन तर खेलाडीसँगै सम्मानको भोको हुने गरेको पाण्डेको भनाइ थियो । सागमा प्रदेश १ का पदक विजेता खेलका १४ जना प्रशिक्षक छन् । उनीहरूले सम्मानमा विभेद गरेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् ।
खेलाडीलाई मात्र पुरस्कार गर्दा त्यही दिन सामाजिक सञ्जालमार्फत राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा महिला टिमका प्रशिक्षक हरि खड्काले पनि प्रदेशको यस्तो कार्यले प्रशिक्षकहरूको मनोबल गिराएको टिप्पणी गरेका थिए । संघीय सरकारले स्वर्ण जितेका खेलका प्रशिक्षकलाई ५ लाख, रजत पदक जित्ने खेलका प्रशिक्षकलाई ३ लाख र कांस्य पदक जित्ने खेलका प्रशिक्षकलाई २ लाख पुरस्कार दिएको थियो ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले सागका पदक विजेतालाई सम्मान गर्ने विषयमा सम्पूर्ण निर्णय प्रदेश सरकारले गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट निकासा गरेको बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरे उक्त विषयमा बोल्न चाहेनन् । सागमा ९८ पदक विजेता प्रदेश १ का ८८ जना खेलाडीलाई प्रदेश सरकारले ८० लाख रुपैयाँ प्रदान गरेर बुधबार पुरस्कृत गरेको छ ।