समाचार
नदीजन्य स्रोतको आम्दानी बाँडफाँट
६० प्रतिशत स्थानीयको, ४० प्रदेशको
- राजेश मिश्र
(काठमाडौं) - नदीजन्य स्रोतमाथिको अधिकारलाई लिएर प्रदेश र स्थानीय तहबीच उत्पन्न विवाद समाधान तथा ढुंगा, गिट्टी र बालुवाको उत्खननसम्बन्धी व्यवस्थापनका लागि संघीय सरकारले नयाँ मापदण्ड ल्याएको छ । मापदण्डअनुसार उत्खननबाट प्राप्त राजस्वमा स्थानीय तहको ६० र प्रदेश सरकारको ४० प्रतिशत हिस्सा हुनेछ । राजस्व संकलनको अधिकार स्थानीय तहको हुने र तोकिएअनुसारको रकम प्रदेशको खातामा जम्मा गर्नुपर्नेछ ।
साझा अधिकार सूचीमा रहेको नदीजन्य पदार्थको व्यवस्थापन र राजस्व बाँडफाँटलाई लिएर अस्पष्टता रहँदै आएको थियो । प्रदेशपिच्छे नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी अलगअलग मापदण्ड छन् । प्रदेशले बनाएका मापदण्डलाई कतिपय स्थानीय तहले अटेर गर्दै आएका छन् । नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार गाउँपालिका र नगरपालिकाको रहने गरी सरकारले नयाँ मापदण्ड ल्याएको हो । यसले सबैतिर एकरूपता आउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले बताए । संघीय मामिला मन्त्रालयले प्रस्ताव गरेको मापदण्डको मस्यौदालाई साउन ५ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको छ । ‘स्थानीय तहले आफूखुसी नदीजन्य पदार्थको व्यवस्थापन गर्दै आएका थिए । एकरूपता नहुँदा गुनासो र विवाद बढेको थियो,’ उनले भने, ‘अब ७ सय ५३ वटै स्थानीय तहमा एकरूपता हुनेछ ।’
‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ ले नदीजन्य पदार्थको संकलन, उत्खनन र बिक्रीको कार्ययोजना बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । गाउँ वा नगरसभाद्वारा स्वीकृत दरमा उत्खनन, संकलनको अनुमति र बिक्रीको ठेक्का स्थानीय कार्यपालिकाले लगाउनेछ । कतिपय प्रदेशले बनाएको मापदण्डमा राजस्वको दर प्रदेश सरकारले तोक्नेछ । स्थानीय तहले वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा संकलन र उत्खननको क्षेत्र तोक्नुपर्नेछ । प्रतिवेदनमा उल्लेख सर्त र सीमाभित्र रहेर मात्रै मेसिनको प्रयोग गर्न पाइनेछ । कुनै एक स्थानीय तहमा नियमानुसारको शुल्क वा दस्तुर तिरी अर्को कुनै स्थानीय तह वा प्रदेशमा ओसारपसार र ढुवानी गर्दा कुनै पनि थप कर, शुल्क वा दस्तुर लिन पाइने छैन ।
घनाबस्ती र वनक्षेत्रको २ किलोमिटर, राजमार्गको ५ सय मिटर दूरीभित्रको नदी, सडक पुल तथा झोलुंगे पुलको एक किलोमिटर तल र ५ सय मिटरमाथिको नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न पाइने छैन । संघीय मामिला मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यले नयाँ मापदण्डले उत्खनन, बिक्री, मूल्य निर्धारण, सुरक्षित ढुवानी, कामदारको सामाजिक सुरक्षा, अनुगमन संयन्त्रलगायत विषय व्यवस्थित गरेको बताए । मापदण्डमा वन तथा चुरे क्षेत्रबाट उत्खननमा रोक लगाइएको छ । नदी तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, डिभिजन वन प्रमुखलगायतका व्यक्ति रहेको समितिले गर्नेछ । क्रसर उद्योग राजमार्गको ‘राइट अफ वे’ बाट तथा खोला वा नदी किनारबाट ५ सय मिटरको दूरीमा मात्रै खोल्न पाइनेछ ।
समाचार
बन्न लागेको सहमति कसरी भत्कियो ?
- बिनु सुवेदी
(काठमाडौं) - स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष पुष्पकमल दाहाल पछि हटेर मिलनबिन्दु खोज्ने समझदारी बनेको थियो । दुवै अध्यक्षलाई नयाँ शिराबाट सहमति खोज्नुपर्छ भनेर महासचिव
विष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनले ‘कन्भिन्स’ गराइसकेका थिए । त्यतिखेर दुवै पक्षका नेताहरूले दुई अध्यक्षबीच सहमति अन्तिम चरणमा पुगेको र त्यसलाई थप प्रस्ट पार्न केही दिन चाहिने बताएका थिए । त्यसैले साउन १३ गतेसम्म स्थायी कमिटी बैठक रोकेर बीचमा संवाद अघि बढाउने समझदारी बन्यो ।
समझदारी खोज्न भन्दै ९ गते ओली र दाहालबीच बालुवाटारमा भएको एक घण्टा लामो भेट भने हार्दिकतापूर्ण रहेन । यसअघि मिल्न–मिल्न लाग्यो भनिएको स्थितिभन्दा ठीक विपरीततर्फ उनीहरू गए । त्यसैले स्थगित स्थायी कमिटीको बैठक गर्ने समय आइसक्दा पनि सहमतिको ठोस खाका आएको छैन । बरु दुई अध्यक्षबीच दूरी झन् बढेको छ, संवाद पातलिएको छ ।
९ गतेको भेट तिक्ततापूर्ण भएपछि अध्यक्षद्वयबीच थप संवाद भएको छैन । त्यसअघि साउन ४ गते साँझ भएको छलफलमा अध्यक्ष दाहालले ओलीलाई भेटेर ‘हिजो जे–जे भयो, जसो भयो, अब म पछाडि फर्किएँ ’ भनेका थिए । दाहालले ‘म पाँच महिनापछि महाधिवेशन हुन्छ र तपाईंले एकल अध्यक्षमा समर्थन गर्नु हुन्छ भन्नेमा विश्वस्त छैन, म नेपाल समूहसँगै छु’ भनेपछि ओली र दाहालका बीचमा ‘बन्नै लागेको’ सहमति भत्किएको
संकेत बालुवाटारलाई मिलेको थियो । ‘त्यसपछि अध्यक्षद्वय पूर्व–पश्चिम भएका छन्, संवादका लागि गरिएको पहल सफल हुन सकेको छैन,’ बालुवाटार स्रोतले कान्तिपुरसँग भन्यो । त्यही बेला माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको भेलाले दाहाललाई महाधिवेशनसम्मै साथ दिने निचोड निकाल्यो ।
दाहाल र ओलीबीचको पछिल्लो संवाद कति तिक्ततापूर्ण रूपमा सकियो भन्ने उदाहरणका लागि ९ गते पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहालले गरेको भाषणमै छनक पाइन्छ । ओलीसँग भेटेर सोझै कार्यक्रममा पुगेका दाहालले पार्टी गम्भीर संकटमा रहेको बताएका थिए । ‘मैले सार्वजनिक रूपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन । त्यो साँचो होइन । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निर्वाचन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ । त्यसले संकटलाई व्यक्त गरेकै छ, यो सबैले देखेकै कुरा हो,’ उनले उक्त कार्यक्रममा भनेका थिए ।
एक नेताले कान्तिपुरसँग भने, ‘अनुमान गर्नुस् न, प्रधानमन्त्रीलाई भेटेर आउनेबित्तिकै अर्का अध्यक्ष दाहालले यस्तो कुरा किन गर्नुभयो ? त्यसपछि ओली र दाहालका बीचमा किन संवाद भइरहेको छैन ?’ त्यसो भए ओली र दाहालका बीचमा लगभग मिलेर पनि भाँडिएको सहमति के थियो त ? स्रोतले कान्तिपुरसँग भन्यो, ‘३ गते नेकपाको सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वयबीच दुई किसिमको सहमति भएको थियो, एउटा लुकाउनका लागि र अर्को देखाउन ।’
साउन ३ मा दाहालको बेचैनी
अध्यक्षद्वयसहित महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनका बीचमा असार २१ गते लामो संवाद चल्यो । अध्यक्षहरूले कुराकानी जारी राख्ने तथा अरू चार नेताले सहमतिको खाका तयार पार्ने समझदारी बनेपछि तिनै नेताहरू सम्मिलित अनौपचारिक कार्यदल बनाइयो । तर दाहाललाई साथ दिइरहेका नेपाल पक्षीय नेताहरूले ओली र दाहालबीच मात्रै सहमति जुटाउन कार्यदल गठन गरिएको भन्दै विरोध जनाए । त्यसपछि दाहालको सचिवालयले कुनै कार्यदल गठन नगरिएको र दुई अध्यक्षले नै संवाद गर्ने र आवश्यक परे वरिष्ठ नेताहरूलाई सहभागी गराउने भन्दै विज्ञप्ति जारी गर्यो । कार्यदलको काम भने रोकिएको थिएन । दोस्रो तहका यी नेताहरूले एकातिर र अध्यक्षद्वयले अर्कातिर संवाद गरिरहँदा स्थायी कमिटी बैठक बारम्बार सरिरहेको थियो । झन्डै १५ दिनको गलफतीपछि साउन २ गतेका लागि डाकिएको स्थायी कमिटी बैठक स्थगन गरियो, ३ गते सचिवालय बैठक बोलाइयो । ‘२ गते नै लगभग सहमति जुटिसकेको थियो, त्यसलाई मूर्त रूप भने ३ गते दिइएको हो,’ स्रोतले भन्यो, ‘सहमतिको ड्राफ्ट तयार पार्न महासचिव पौडेल र स्थायी कमिटी सदस्य शर्माको मुख्य जोडबल छ, उनीहरू नै साक्षी बसेर एउटा लुकाउने र अर्को देखाउने सहमतिको ड्राफ्ट तयार भएको हो, सही गर्न मात्रै बाँकी थियो ।’
अध्यक्षद्वयले हस्ताक्षर गर्ने तर अहिले गोप्य राख्ने भनेर तयार पारिएको सहमतिपत्रमा मंसिरमै महाधिवेशन गर्ने, पार्टीको एकल अध्यक्षका लागि ओलीले दाहाललाई समर्थन गर्ने र एक वर्षपछि चुनावी सरकारको नेतृत्व दाहालले गर्ने उल्लेख थियो । उक्त सहमतिपत्रमा महाधिवेशनपछि ओली पार्टीको सर्वोच्च नेता बन्ने र ‘जनताको बहुदलीय जनवाद’ पार्टीको कार्यक्रम हुनुपर्ने प्रस्तावमा भने दाहाल सहमत हुन सकेका थिएनन् । बरु दाहालले असोजमै पार्टीको महाधिवेशन गरेर नेतृत्व आफूलाई हस्तान्तरण गर्नुपर्ने र आउँदो फागुन ३ मा यो सरकार ३ वर्ष पुगेपछि ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘गणतन्त्रको आधार जबजसमेत भएकाले यसबारे पछि कुरा गरौंला भन्ने भएको थियो तर चुनावी सरकारको नेतृत्व लिने र मंसिरमा हुने अर्ली महाधिवेशनबाट दाहाल अध्यक्षमा चुनिन ओलीले समर्थन गर्ने कुरामा चाहिँ लगभग सहमति जुटेको हो,’ दाहालनिकट स्रोतले भन्यो, ‘दाहालले राष्ट्रपतिलाई नै साक्षी राखेर यो सहमति गरौं भन्नुभएको थियो, ओली पक्षीय नेताहरू भने बालुवाटारमै केही विश्वस्त नेताहरू बसेरै सहमतिमा सही गरौं भन्ने पक्षमा थिए ।’
ओलीनिकट स्रोतले बताएअनुसार दाहालकै चाहनाअनुसार महासचिव पौडेलले राष्ट्रपति भवन शीतल निवास जाने समय मिलाएका थिए । त्यहीअनुसार उनले ‘७ बजे भेटघाटको समय तय भयो’ भनेर दाहाललाई एसएमएस तय गरे । दाहाल ओलीसँग भेटघाट होला भनेर प्रधानमन्त्री निवास बालुवाटार पुगे जहाँ स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ र पृथ्वीसुब्बा गुरुङ मात्रै थिए । एकछिनमा दाहाललाई ओलीको फोन आयो, उनले आफू राष्ट्रपति निवासमा भएकाले त्यतै आउन निम्ता गरे । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री पुगेको करिब १५ मिनेटपछि दाहाल राष्ट्रपति भवन छिरेका थिए । महासचिव पौडेल तथा स्थायी कमिटी सदस्यहरू शर्मा र पोखरेल पनि त्यो बीचमै राष्ट्रपति कार्यालय छिरेका हुन् । उक्त छलफलमा पनि महासचिव पौडेलले भूमिका बाँधेर अब मंसिरमा महाधिवेशन गर्ने, एकल अध्यक्षमा दाहाललाई ओलीले समर्थन गर्ने गरी सहमति गरौं भनेका थिए । ओलीले दिउँसो १ बजे दाहालसँग भएको भेटको कुरा दोहोर्याउँदै पार्टीको कार्यक्रम जबज हुनुपर्छ भने । त्यसमा राष्ट्रपति भण्डारीले पनि समर्थन जनाइन् । दाहालले ‘भनेपछि म नेकपाको अध्यक्ष बन्न पहिले एमाले हुनुपर्यो भन्ने तपाईंहरूको प्रस्ताव हैन त ?’ भनेर सोधेका थिए । दाहालको ब्रिफिङ सुनेका नेकपाका एक स्थायी कमिटी सदस्यले कान्तिपुरलाई बताएअनुसार ‘म एमाले भएर नेकपाको अध्यक्ष बन्दिनँ, नेकपाकै अध्यक्ष बन्ने हो, जबज स्विकार्ने कुरा आउँदैन’ भनेका थिए । ‘प्रचण्डजी, प्रधानमन्त्रीको प्रस्तावमा असहमत भएपछि हामीले गरेको मिहिनेत पूरै पानीमा गयो,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘गोप्य राख्ने भनिएकै डकुमेन्टमा हस्ताक्षर नभएपछि सार्वजनिक गर्न भनेर तयार पारिएको डकुमेन्ट पनि यत्तिकै भयो ।’
बालुवाटार स्रोतका अनुसार सार्वजनिक गर्ने भनेर तयार पारिएको सम्झौतापत्रमा आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने र महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने उल्लेख थियो । जुन पार्टी एकीकरण हुँदा अध्यक्षद्वयले गरेको सहमतिपत्रमा पनि भएकाले नेपाल पक्ष पनि सहमत हुन्छ भन्ने सहमतिको मस्यौदा निर्माणकर्ताहरूको थियो । भित्री रूपमा भइरहेको यो सबै चलखेलबारे नेपाल समूह बिलकुल बेखबर थियो । फागुन ३ पछि सरकारको नेतृत्व दाहालले लिने या पार्टीको आगामी कार्यक्रम जबज मान्नुपर्छ भन्ने सर्त नभएको भए दाहाल र ओलीबीच यो बीचमा सहमति भइसकेको हुने थियो ।
नेपाल समूह भने करिब चार घण्टा चलेको सचिवालय बैठकमा ओलीले गरेको अर्ली महाधिवेशनको प्रस्ताव र त्यसमा दाहालले गरेको समर्थनबाट झस्किसकेको थियो । ‘अध्यक्षद्वयबीच भित्री रूपमा केही न केही लेनदेन भएको छ भन्नेमा हामी लगभग पक्काजस्तै भएका थियौं,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘तर ओलीले घुमाउँछन् । उनले निकास दिनुको विकल्प छैन भन्नेमा कत्ति पनि दायाँबायाँ गर्नै हुन्न भनेर हामी अडिग थियौं, भयो पनि त्यस्तै ।’
नेकपा स्थायी कमिटी बैठक सुरु भएयताको महिना दिनमा दाहाल सबैभन्दा अस्थिर भएको दिन पनि त्यही नै हो । उनले प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि आफूपक्षीय सचिवालय सदस्यहरूसँग संवाद गरेका थिए । त्यतिखेर उनीहरूले ‘ओलीले दुईमध्ये एक पद छाड्नैपर्छ भन्ने हाम्रो बटमलाइन हो, यसैमा अडिग रहनुस्’ भनेका थिए । दाहाल पनि यही विषयमा सहमत भएर ओलीसँग भेट्न गए । पार्टी एकताका साक्षी पौडेल र शर्मासहित भएको भेटमा अर्ली महाधिवेशन गरेर जाने सहमति भयो, त्यसपछिको सचिवालय बैठकमा ओलीले यही प्रस्ताव गरे, दाहालले समर्थन जनाए । राष्ट्रपति निवासमा भएको छलफलमा दाहाल ओलीको प्रस्तावमा सहमत भएनन्, निस्किएर गाडी चढ्नेबित्तिकै स्वकीय सचिव गंगा दाहाललाई फोन गरेर कुनै पनि सहमति नभएको स्टाटस लेख्न लगाए । भोलिपल्ट बिहान पार्टी उपाध्यक्ष वामदेव गौतम, महासचिव पौडेल, स्थायी कमिटी सदस्य शर्मा र देवेन्द्र पौडेलसँग भएका छुट्टाछुट्टै भेटमा अबको लाइन महाधिवेशन नै हो भनेका दाहालले त्यसपछि आफ्ना पक्षका सचिवालय सदस्यहरूसहित स्थायी कमिटी सदस्यहरूसँग भएको भेटमा ओलीसँग कुनै सहमति नभएको बरु पार्टीलाई एकताबद्ध पार्नसमेत व्यापारीहरू सक्रिय रहेको भन्दै व्यापारी दीपक भट्टको नाम लिएका थिए ।
प्रधानमन्त्री ओलीनिकट मानिने भट्टले अध्यक्षद्वयबीच एकता गराउन दौडधुप गरिरहेको चर्चा आएका बेला दाहालले समेत उनको नाम लिएपछि अरू स्थायी कमिटी सदस्यहरूबीच मुखामुख भएको बैठकमा सहभागी अर्का एक नेताको भनाइ छ । त्यही दिन साँझ दाहाल र ओलीका बीचमा भएको भेटमा परिस्थिति फेरि उलटफेर भयो, बन्नै लागेको सहमति तोडियो, दुवै अध्यक्ष आआफ्नो बाटो लागे । यही बीचमा दोस्रो तहका नेताहरू बरु सक्रिय रहे ।
कुरा झन् बिग्रियो
स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र शंकर पोखरेल शुक्रबार अध्यक्षलाई सम्झाइदिन भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेट्न पुगे भने शनिबार पोखरेलले अध्यक्ष दाहाललाई भेटेर अध्यक्षद्वय नै मिल्नुपर्ने भन्दै सहमतिका लागि लचिलो हुन आग्रह गरे । ओलीले पनि स्थायी कमिटी सदस्यको हैसियतमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र वर्षमान पुनलगायत दाहाल–नेपाल गुटका नेताहरूलाई भेटेर नाडी छामिरहेका छन्, आफ्ना निकटस्थ नेताहरूसँगको दिनदिनैको परामर्श त छँदै छ । अध्यक्षद्वयबीच भएको पछिल्लो भेटमा भने दाहालले ओलीको राजीनामा मागे, ओलीले ‘म राजीनामा दिन्न, जे निर्णय गर्ने हो गर्नुस्, त्यसपछि निर्णय गरौंला भन्ने’ जवाफ दिएपछि कुरा झन् बिग्रिएको र दुवै अध्यक्ष मिलेरभन्दा पनि भिडेरै जाने मनस्थितिमा रहेको निकटस्थ नेताहरू बताउँछन् । दाहालले केही स्थायी कमिटी सदस्यलाई ओलीले संसद् विघटन गरेर मध्यावधि चुनावमा जानका लागि भाषणको ड्राफ्टसमेत तयार पारेको भन्दै ब्रिफिङ गरेको स्रोतले बताएको छ ।
महासचिव विष्णु पौडेलले सहमतिको थप प्रयास गर्ने भनेर तोकिएको पछिल्लो साता दिनमा कुनै प्रगति नभएको बताए । ‘अहिले त्यस्तो खासै केही छैन,’ उनले भने, ‘अन्तिम घडीमा सहमति गर्ने हाम्रो स्वभाव छ, ४८ घण्टा भनेको हाम्रा लागि पर्याप्त समय हो । केही न केही सहमति त जुट्ला नि ।’
उता दाहाल, नेपाल र खनाल पक्षीय नेताहरू भने अब बैठक धेरै लम्ब्याउन नहुने पक्षमा छन् । त्यसका लागि सोमबार बैठक गरेर मंगलबारको स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने एउटा निचोडमा पुग्ने तयारी यो पक्षको छ । ‘१३ गतेदेखि बैठक हुन्छ अनि घनीभूत तरिकाले अगाडि बढ्छ, सरकार र पार्टीको समीक्षा हुन्छ,’ सचिवालय सदस्य खनालले भने, ‘अहिलेसम्म ओलीजीलाई दुईमध्ये एक पद छाड्नुस् भनिएको छ, तर कारण भनिएको छैन । अब हामी कारणसहित प्रस्तुत हुन्छौं, ती कारणहरू लिखित रूपमै पनि आउन सक्छन् ।’ त्यतिखेर पार्टीभित्रबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने नेपाल र बाहिरबाट समर्थन गर्ने दाहालले नै हात झिकेपछि ओली सरकारमा बस्ने आधार नरहेको यो समूहको निष्कर्ष छ ।
एक व्यक्ति एक मुख्य जिम्मेवारी हुने पार्टी विधानअनुसार नै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री या अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय बैठकबाट पारित गराउने तयारी भइरहेको अर्का एक सचिवालय सदस्यले बताए । ‘तर अहिलेसम्मको परिस्थितिले नतिजा सकारात्मक ल्याउलाजस्तो छैन,’ ती सचिवालय सदस्यले भने, ‘पार्टी ब्रेक नै हुन्छ कि जस्तो पो लाग्दै छ त ।’
समाचार
समितिहरूको ध्यान चर्चित विषयमा मात्रै
- मकर श्रेष्ठ
(काठमाडौं) - संघीय संसद्का समितिहरूमा कुनै बेला सबैभन्दा बढी छलफलको विषय हुन्थ्यो– ‘भूकम्पले क्षति भएका संरचना पुनर्निर्माणको काम कति भयो र कहिले सकिन्छ ?’
प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका ४ वटा समितिमा छलफलको विषय नै पुनर्निर्माणसम्बन्धी हुन्थ्यो । यसको जानकारी दिन पुनर्निर्माण प्राधिकरणका पदाधिकारीहरू हूल बाँधेर समितिमा पुग्थे । एउटा समितिमा जानकारी गराएको विषयमा उपलब्धि थपघट गरेर सुनाउँथे । ‘हामीले पुनर्निर्माणबारे जानकारी गराएपछि हरेक समितिको निर्देशन हुन्थ्यो– पुनर्निर्माण चाँडै सक्नू,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक उच्च तहका कर्मचारीले भने, ‘निर्देशन नदिए पनि काम त भइरहेकै हुन्थ्यो । यो विषयमा सबै समितिमा छलफल भएको छ ।’
सबैजसो समिति वैशाखयता भने कोरोना नियन्त्रणमा छलफल गर्न र निर्देशन दिन थाले । सरकारले गत चैत ११ देखि लकडाउन गर्यो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैशाख ७ मा कोरोना नियन्त्रण गर्न सरकारलाई १४ बुँदे निर्देशन दिएको थियो । विकास तथा प्रविधि समितिले वैशाख १७ मा यसै विषयमा छलफल गरी संक्रमण नियन्त्रण तथा रोकथाममा उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्न निर्देशन दियो । समितिले कोरोनासम्बन्धी तीनवटा बैठक राखेको छ । अरू बेला चुपचाप रहने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पनि वैशाख २२ र २९ मा कोरोना रोकथाम, नियन्त्रण तथा निर्मूल गर्न भइरहेका काम, राहत विवरण, व्यवस्थापन, औषधि, उपचार सामग्रीको आपूर्तिलगायत विषयमा छलफल गरायो । शिक्षा तथा स्वास्थ्य समितिले माघ २८, वैशाख २४, २९, जेठ १, जेठ १२ र २९ मा कोरोनाकै विषयमा बैठक राख्यो । सार्वजनिक लेखा समितिले असार ८ र ३० मा सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै छलफल गर्यो ।
कानुन न्याय तथा मानवअधिकार समितिले वैशाख १३, जेठ १२ र २० मा कोरोनासम्बन्धी बैठक राखेर सरकारलाई निर्देशन दियो । प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय समितिले कोरोनाका कारण विदेशमा अलपत्र नेपालीका विषयमा छलफल गरेर तत्काल व्यवस्थापन गर्न सरकारलाई निर्देश गर्यो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले असार ८ मा कोरोनाले पारेको असरबारे छलफल गर्यो । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले कोरोनाका कारण पारेको असरबारे छलफल गरेर कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दियो । महिला तथा सामाजिक समितिले पनि जेठ २२ र असार १२ मा कोरोनाले महिला बालबालिकालाई पारेको असर र क्वारेन्टाइन महिलामैत्री बनाउने विषयमा छलफल गरेर सरकारलाई निर्देशन दियो ।
त्यस्तै राष्ट्रिय सभाको विधायन समितिले त यही विषयमा वैशाख १५ देखि लगातार चार दिन छलफल राखेर वैशाख १९ मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सुझाव तथा निर्देशन दिएको थियो । वैशाख १२ मा राष्ट्रिय सभाकै दिगो विकास तथा सुशासन समितिले पनि सरकारलाई ६ बुँदे निर्देशन दिएको थियो । फेरि वैशाख २६ गते मुख्यमन्त्रीहरूलाई अर्को ११ बुँदे निर्देशन जारी भयो । प्रत्यायोजित व्यवस्था तथा सरकारी आश्वासन समितिले पनि जेठ २२ मा कोरोना नियन्त्रण निर्देशन दियो । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पनि यो विषयमा छलफल गर्न पछि परेन । ‘कोरोना नियन्त्रण गर्न संसदीय समितिहरूबाट निर्देशन आउने क्रम जारी छ, जुन निर्देशनले हामीलाई सघाइरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने, ‘निर्देशन दिँदा राजनीतिक र प्रशासनिकभन्दा पनि प्राविधिक हिसाबले विश्लेषण गरेर आउने हो भने हामीलाई अझ काम गर्न सहज हुन्थ्यो ।’
समितिले आफ्नो कार्यक्षेत्रमा परेको मन्त्रालय र विषयको मात्रै छलफल गरेर सरकारलाई निर्देशन दिन पाउँछन् । तर, कार्यक्षेत्रभन्दा बाहिर गएर बैठक राख्न समितिहरूबीच हानथाप हुने गरेको छ । यस्तै एउटा विषय हो– ‘लिपुलेकमा भारत सरकारले खनेको सडक ।’ यो विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय समितिले परराष्ट्रमन्त्रीलाई एकै दिन एउटै समयमा बैठकमा बोलाउने कामसमेत गरेका थिए ।
समितिहरू पछिल्लो साता बाढीपहिरोबाट भएको क्षतिबारे बैठक राखेर सरकारलाई निर्देशन दिन व्यस्त छन् । यस विषयमा तीनवटा समितिले सरकारलाई निर्देशन दिइसकेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले असार २९ मा गृहमन्त्रीलाई बोलाएर बाढीपहिरोसम्बन्धी ११ बुँदे निर्देशन दियो । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले असार ३१ मा बाढीपहिरो र डुबानमा भएको धनजनको क्षतिप्रति समिति गम्भीर भएको भन्दै पीडित परिवारका लागि राहत, घाइतेको उपचारको व्यवस्था र जोखिमयुक्त बस्तीको पुनःस्थापना गर्न सरकारलाई निर्देशन दियो ।
बाढीपहिरोको विषयमा दुईवटा समितिले निर्देशन दिइसकेपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले साउन ६ मा सरकारलाई अर्को निर्देशन दियो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले संसदीय समितिहरूले दिने निर्देशनले काम गर्न सहज हुने गरेको बताए । ‘कतिपय विषयमा हाम्रो ध्यान नगएको हुन सक्छ, संसदीय समितिले दिने निर्देशनले हामीलाई दृष्टि पुर्याउन सघाउ पुर्याउँछ,’ उनले भने, ‘तर एउटै विषयमा फरक–फरक समितिले दिने निर्देशनले चाहिँ काम गर्न अन्योल बनाउँछ ।’
एउटै विषयमा धेरैवटा समितिले निर्देशन दिएकै कारण हुन सक्छ निर्देशनहरू प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित गत सोमबार बसेको बैठकमा समिति सभापतिहरूले निर्णय र निर्देशन सरकारले पालना नगरेको गुनासो गरे । उनीहरूले संसदीय सर्वोच्चता कायम गरिदिन सभामुख र अध्यक्षसँग आग्रह गरेका थिए ।
एउटै कामका लागि दुई वा दुईभन्दा बढी समितिबीच प्रतिस्पर्धा देखिएको भन्दै समिति सभापतिहरूले संसद्को नेतृत्वलाई समाधानका लागि आग्रह गरेका थिए । पछिल्लो समय लेखा समिति र कृषि सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिबीच वैज्ञानिक वनसम्बन्धी विषयमा विवाद कायमै छ । सभामुख अग्निप्रसाद सापकोटाले समितिहरूबीच अस्वस्थ प्रतिस्पर्धा गर्नेभन्दा पनि एउटै विषयमा छलफल गर्नुपरेमा संयुक्त बैठक गर्ने, निर्देशन दिनेलगायतका विषयमा सभापतिबीच सोमबारको बैठकमा आपसी समझदारी भइसकेको बताए ।