You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

उपत्यकाका १३६ ठाउँमा संक्रमित

- मकर श्रेष्ठ,स्वरूप आचार्य

(काठमाडौं) - काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ । ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । ‘त्यसमा पनि प्रदेश २ बाट आएकाको संख्या बढी छ । भारतबाट आएका पाँच जना छन्,’ कोइरालाले भने ।
शय्या अभावका कारण शुक्रबार पनि संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । ६८ जना घरकै आइसोलेसनमा बसेका छन् । केही सम्पर्कविहीन र उपत्यकाबाहिर छन् । ‘रोगको उपचार गर्न अस्पताल भर्ना भएका केहीलाई त्यहीं बस्न भनेका छौं,’ कोइरालाले भने ।
शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३४ जना महिला छन् । उपत्यकाको एक परिवारमा सात जनालाई संक्रमण भएको छ भने अर्को एक परिवारमा दुई जना संक्रमित भएका छन् । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ । उपत्यकामा शुक्रबार लक्षणसहितका संक्रमित ३० जना पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । ६ सय ४६ जना सक्रिय संक्रमित हुन् । मन्त्रालयले काठमाडौंसहित ६ जिल्लालाई जोखिममा राखेको छ । साउन १ देखि १२ सम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए ।

साउन १३ मा एकै दिन ६१ जनामा संक्रमण पुष्टि भएको थियो । दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको छ । ईडीसीडीको संक्रमित व्यवस्थापन गर्ने टोलीले घरमै आइसोलेसनमा बस्न चाहनेलाई अनुमति दिने गरेको छ । उनीहरूलाई स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भए पनि अधिकांशलाई निगरानी नगरिएको गुनासो छ । बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये २० जना घरमै आइसोलेसनमा बसेका थिए । बिहीबार पनि ८१ जना संक्रमित देखिएकामा ४० जना प्रहरी र तिनका आफन्त प्रहरी अस्पतालमा आइसोलेसनमा राखिएको छ । अरू घरमै छन् ।
संक्रमित भर्ना गर्न तोकिएको अस्पतालको शय्या खाली नभएपछि कीर्तिपुरको आयुर्वेद अस्पताललाई दुई सय शय्यामा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । तर ती प्रयोगमा आइसकेका छैनन् । त्यस्तै, छाउनीस्थित सैनिक अस्पताल र महाराजगन्जको प्रहरी अस्पताललाई पनि लेबल २ को अस्पताल बनाउने निर्णय मन्त्रालयले गरिसकेको अधिकारीले जानकारी दिए । तर सेनाले सैनिकलाई मात्रै र प्रहरीले आफ्नो संगठनभित्रका संक्रमित मात्र भर्ना गर्ने भनेका छन् ।

न्युरोड क्षेत्रमा बजार बन्द
काठमाडौं महानगरपालिका वडा नं. २२ ले न्युरोड, इन्द्रचोक क्षेत्रमा तीन जना संक्रमित देखिएपछि वडाभरि बजार बन्द गर्ने निर्णय गरेको छ । काठमाडौंको न्युरोड नजिकैको खिचापोखरीमा बुधबार एक माछा पसलेलाई कोरोना देखिएको थियो । प्रदेश २ बाट आउनेबित्तिकै उनलाई वडाध्यक्ष चिनीकाजी महर्जनले पीसीआर गर्न पठाएका थिए । शुक्रबार वटुमा एक जना र कोइला गल्लीमा एक जना संक्रमित देखिएपछि स्थानीय व्यापार संघसँग समेत परामर्श गरेर न्युरोड क्षेत्रको पसल बन्द गर्ने वडास्तरीय निर्णय भएको महर्जनले बताए । उनका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका दुवै जना रेडिमेड कपडाका होलसेल व्यापारी हुन् । दुवैलाई लक्षणसहितको कोरोना देखिएको छ । ‘पसल बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ र बजार क्षेत्रलाई निर्मलीकरण गर्छौं । त्यसपछि स्थिति हेरेर पसल खोल्ने वा नखोल्ने निर्णय गर्छौं,’ वडाध्यक्ष महर्जनले बताए ।
यही वडासँगै जोडिएको वडा नं २६ मा पर्ने असनमा एउटै परिवारका ५ जनासहित ९ जना संक्रमित भइसकेको वडाध्यक्ष चिनियामान बज्राचार्यले बताए । ‘९ मध्ये ७ जना असन र महाबौद्ध क्षेत्रका व्यापारी हुन्,’ उनले भने, ‘भारतबाट फर्केकी महिलाबाट संक्रमण फैलिएको अनुमान छ ।’ उनले उक्त वडामा पनि आइतबारदेखि पसल बन्द गराउन लागेको बताए । काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् । काठमाडौंलाई नै उच्च जोखिमको सूचीमा राखेको मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले बताए । काठमाडौं उपत्यकामा लक्षणसहितको संक्रमित देखिएकाले सावधानी अपनाउन जरुरी छ,’ उनले भने ।

दुई सातामा ४८५ संक्रमित
ईडीसीडीका अनुसार साउन ९ देखि २१ सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा करिब ४ सय ८५ जना कोरोना संक्रमित देखिएका छन् । यसमा काठमाडौं महानगरमा मात्र करिब ६५ प्रतिशत अर्थात् ३ सय १५ जना संक्रमित भेटिएका छन् ।
उपत्यकामा दुई सातायता १ सय ३६ स्थानमा संक्रमित भेटिएका हुन् । २४ स्थानमा संक्रमितको संख्या ५ वा ५ भन्दा बढी छ । सबैभन्दा बढी ७५ जना संक्रमित नेपाल प्रहरीको मुख्यालयमा भेटिएको छ । कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा १०/१० जना संक्रमित पाइएको छ । यी क्षेत्रका संक्रमितमध्ये अधिकांश लकडाउनपछि भारत र तराईबाट फर्केकाहरू रहेको ईडीसीडीले जनाएको छ । कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन् ।
ईडीसीडीका अनुसार ललितपुरको सानेपामा ९ जना संक्रमित फेला परेका छन् । वनस्थली, टेकु र टंगाल क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७/७ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा व्यापारिक केन्द्रका रूपमा चिनिने असनमा मात्रै ६ संक्रमित फेला परेका छन् । बिजुली बजार क्षेत्रमा पनि ६ संक्रमित पाइएको छ । वीरगन्जको एक बैंकका म्यानेजर काठमाडौं फर्केपछि बिजुली बजारमा पहिलो संक्रमित भेटिएको थियो ।
त्यसपछि त्यहाँ अरूमा संक्रमण पुष्टि भएको हो ।
बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला तथा ताल्छीखेलमा ५/५ जना संक्रमित फेला परेका छन् । घट्टेकुलोमा भेटिएका संक्रमित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीको परिवारका हुन् । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा ४/४ जना संक्रमित पाइएका छन् ।
अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा ३/३ जनामा संक्रमण देखिएको छ । बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका अन्य ७० स्थानमा पनि पछिल्लो दुई सातामा संक्रमित भेटिएका छन् ।
पीसीआर काठमाडौं उपत्यकामा गराउँदा संक्रमण देखिए यतै व्यवस्थापन गरिन्छ । कतिपय व्यक्तिले काठमाडौं उपत्यकाको ठेगाना खुलाएका हुँदैनन् । यो विश्लेषणमा उनीहरूलाई समेटिएको छैन । ईडीसीडीले उपलब्ध गराएको विवरणमा जसको काठमाडौंको ठेगाना खुल्छ, त्यसका आधारमा कुन ठाउँमा कति संक्रमित छन् भनेर विश्लेषण गरिएको हो ।

मुख्य पृष्ठ

नेकपामा द्वन्द्व पद्धति कि पदको ?

- दुर्गा खनाल

(काठमाडौं) - पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरूप गत बुधबार अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङबीच कुराकानी हुने तय भएको थियो । तर त्यही दिन दिउँसो २ बजे दाहाल, खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले राजधानीको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा केही सञ्चारमाध्यमका पत्रकारहरूसँग अनौपचारिक भेट गर्दै पार्टीभित्रको पछिल्लो विवादको चुरोबारे स्पष्ट पारे ।
पार्टी विवाद चर्किएका बेला चार नेताले गरेको छुट्टै पत्रकार भेटघाटको खबर प्रधानमन्त्री ओलीसमक्ष तत्काल पुगिहाल्यो । सहमति खोज्नका लागि बैठकको तयारी गरिरहँदा दाहाललगायत नेताले पत्रकार भेटघाट गरेपछि ओली रुष्ट भए । दाहालसहित बस्ने भनिएको बैठक रोकियो । साँझसम्म पत्रकार भेटघाटमा दाहाल, खनाल, नेपाल र श्रेष्ठले बोलेका कुरा सञ्चारमाध्यममा हुबहु आए, जसलाई बालुवाटारले आपत्तिजनक ठान्यो । त्यही भेटघाटपछि रुष्ट ओली र उनी पक्षका नेताहरूलाई शुक्रबार बिहान अर्को त्यस्तै खबरले झन् चिढ्यायो । खबर थियो– ‘चार जना नेताले नक्सालस्थित होटल मेरियटमा सम्पादकहरूसँग भेटघाट गर्दै छन् ।’
त्यसपछि बालुवाटारबाट प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध शाब्दिक फायर खोले । रिमालले ट्वीट गरे, ‘इनफ इज इनफ नारायणकाजी, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुहोस् । विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्, पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ, महसुस होस् ।’
यो समूहमा चार जना नेता छन् तर श्रेष्ठमाथि ओली पक्षका नेताहरूले बढी प्रश्न उठाउनुको कारणचाहिँ प्रवक्ता पदलाई प्रयोग गरेर श्रेष्ठको योजनामा पत्रकार भेटघाट बोलाइएको हो र त्यहाँ उनले गुटका कुरालाई पार्टीको धारणाका रूपमा ल्याउन खोजे भन्ने छ । त्यसैले रिमालले श्रेष्ठप्रति कडा टिप्पणी गर्दै लेखेका हुन् । यद्यपि शुक्रबार तोकिएको सम्पादकहरूसँगको भेटचाहिँ पछि दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको बहानामा रद्द भयो । तर यी दुवै घटनाले नेकपा विवादको आगोमा घिउ थप्ने काम गरेको छ । दाहालसहितका नेताले पत्रकारहरूसँग भेटघाटको उद्देश्य आफूहरूको लडाइँ विधि र पद्धतिका लागि हो भन्ने स्पष्ट पार्नका लागि भएको तर्क गरेका छन् । प्रधानमन्त्री ओली पक्षले भने यसलाई पार्टीमा विग्रह ल्याउने घटनाकै शृंखलाका रूपमा बुझेको छ । ‘अस्तिको भेटघाट अस्वाभाविक र अनपेक्षित छ, यसले हामीलाई चिन्तित र गम्भीर तुल्याएको छ,’ स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, ‘पार्टीभित्र छलफल र समस्या समाधानका लागि कुराकानी चलिरहँदा यो खालको गतिविधि सामान्य परिघटना होइन ।’
अध्यक्ष दाहालसहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टीको विधि र पद्धतिअनुसार नचलेको लामो समयदेखि आरोप लगाउँदै आएका छन् । तर ओलीले भने दाहालसहितका नेताहरूको गठबन्धन आफूलाई पदबाट हटाउने र त्यो पदमा पुग्ने उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । यही पृष्ठभूमिमा पदका लागि होइन, विधिका लागि लडिरहेको भन्ने स्पष्ट पार्न चार नेताले पत्रकार/सम्पादकहरूलाई भेट्न खोजेका थिए । तर त्यही घटना अहिले पार्टीभित्रको विवादका लागि नयाँ मसला बनेको छ । ‘पार्टीलाई विधिसम्मत ढंगले चलाउनुपर्छ, यसमा सबै तयार हुनुपर्छ भन्ने कुरा हामीले गर्दै आएका छौं,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘तर विधिअनुसार चल्नेभन्दा अन्यथा ढंगले अघि बढ्न खोजिएको छ, यो कुरा हामीले स्पष्ट गर्न खोजेका हौं ।’
पदका लागि नभई विधि, पद्धतिअनुसार पार्टी चलाउने प्रयास भन्ने दाहालसहितका नेताहरूको तर्कलाई पत्याउन ओली पक्ष तयार छैन किनकि यो विधि, पद्धतिको कुराभित्र मुख्य रूपमा ओलीेले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषय जोडिएको छ । ओलीले राजीनामा दिनुपर्ने सर्त तेर्स्याएर गरिने विधि र पद्धतिको तर्क हास्यास्पद रहेको उनीहरूको भनाइ छ । ‘राजीनामाबाट कुरा सुरु गर्ने अनि यो सबै काम पदका लागि होइन विधि र पद्धतिका लागि हो भन्दा कसले पत्याउँछ ?’ ज्ञवालीको तर्क छ ।
नेकपाको विवादभित्र विधि, पद्धतिभन्दा पदको कुरा बढी प्रभावी देखिन्छ । दुवै पक्षले विधि र पद्धतिलाई प्रधान ठान्ने हो भने विधिसम्मत सुरु भएको स्थायी कमिटी बैठक एउटा प्रक्रियामा पुगेर नटुंग्याई एक महिनाभन्दा बढी समयदेखि अलपत्र पार्ने थिएनन् । बाँकी पृष्ठ ११ड

 

Page 2
समाचार

निषेधाज्ञासँगै सार्वजनिक सेवा कटौती

- मातृका दाहाल

(काठमाडौं) - उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाहमा पनि कटौती गरेको छ ।
निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि संक्रमण पाइएपछि उच्च जोखिममा परेका स्थान सिल गर्नुका साथै विभिन्न जिल्लामा सरकारी कार्यालयबाट दिइने सेवा पनि कटौती गरिएको हो ।
गृह मन्त्रालयको शुक्रबार अबेरसम्मको विवरणअनुसार १८ जिल्लाका कतै पूरै र कतिपय स्थानमा आंशिक निषेधाज्ञा जारी गरिएको छ । गत बुधबारसम्म १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएकामा दुई दिनमा थप ५ जिल्ला र विभिन्न स्थानीय तहमा निषेधाज्ञा गरिएको छ । यसबाहेक उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा प्रशासनले अत्यावश्यकबाहेकका सबै सेवा १५ दिनका लागि बन्द गरेका छन् । गृहले बुधबार रातिबाटै लागू हुने गरी २ सयभन्दा बढी उपचाररत संक्रमित भएका जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइसकेको छ । अत्यावश्यकबाहेकका सवारीलाई राजधानी प्रवेशमा पनि कडाइ गरिएको छ ।
उपत्यकाका तीन जिल्लामा सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सप्तरी, बाँके, बारा, पर्सा, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियाका सबै क्षेत्र निषेधित घोषणा गरिएको छ । दैनिक उपभोग्य वस्तु किनमेलमा केही लचकता अपनाइएको छ । केही जिल्लाका स्थानीय तहले स्थानीय प्रशासनको अनुमतिमा जोखिममा परेका
आ–आफ्ना क्षेत्र अनिश्चितकालका लागि सिल गरेका छन् । समुदायस्तरमा कोरोना देखिए तत्काल एरिया सिल गरेर आवतजावतमा रोक लगाउन गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
गृह प्रवक्ता चक्रबहादुर बुढाले संक्रमण फैलिन नदिन जोखिमयुक्त क्षेत्र पहिचान गरी जिल्ला, स्थानीय तह, टोल र संक्रमित बसेका घर वरपर सिल र निषेधाज्ञा जारी गरेर आवतजावत नियन्त्रण गरिएको बताए । उनले भने, ‘जोखिमको स्थिति हेरेर निषेधाज्ञा गर्ने जिल्ला थपिन सक्छन् ।’ स्थानीय तह र जिल्लागत निर्णयबाट पनि परिस्थिति नियन्त्रणमा नआए गृह र सीसीएमसीबाट प्रतिकार्य योजना लागू गरिनेछ ।
निषेधाज्ञा जारी भएका स्थानमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा प्रवाह अर्को आदेश नभएसम्मका लागि कटौती गरिएको छ । शुक्रबार नै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले अत्यावश्यकबाहेकका सबै सेवा साउन २५ देखि भदौ ८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । ६ बुँदे निर्णय गर्दै संक्रमणविरुद्धको प्रतिकार्य योजनालाई प्रभावकारी बनाउन अत्यावश्यक सेवाबाहेकका कामकारबाही स्थगन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । ‘उपत्यकाका तीनवटै जिल्लामा संक्रमणको उच्च जोखिम रहेकाले संयुक्त बैठक गरेर निर्णय लिनु परेको हो,’ उनले भने, ‘अन्य सरकारी तथा सार्वजनिक सेवा दिने कार्यालय पनि प्रमुखले औचित्य हेरेर बन्द गर्न सक्नेछन् ।’
निषेधाज्ञाको पालना अनुगमन गर्न प्रशासनबाट संयन्त्र परिचालन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।
आइसोलेसन क्षमता बढाउन सुझाव
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले पूर्वाधार भएका ठूला क्वारेन्टाइनलाई ‘आइसोलेसन केन्द्र’ बनाउन अस्पतालहरूलाई सुझाव दिएका छन् । प्रजिअहरू जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै राष्ट्रियस्तरका क्वारेन्टाइनलाई पूर्वाधार थप गरेर आइसोलेसन वार्डको संख्या बढाउन सुझाव दिएका हुन् ।
यसका लागि प्रजिअहरूले गृह मन्त्रालयमार्फत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीलाई पत्र पठाएका छन् । प्रजिअहरूको बैठकले कीर्तिपुर र सामाखुसीस्थित राधास्वामी सत्संग भवनका करिब ३ सय बेड क्षमता, इचंगुनारायणमा करिब ४ सय र मनमोहन मेडिकल कलेज दहचोकमा करिब ३ सय क्षमतामा ठूला क्वारेन्टाइनलाई आइसोलेसन बनाउन सकिने सुझाव दिएको छ ।

न्युरोड र टेकु क्षेत्र सिल गर्न सिफारिस
असन र न्युरोड क्षेत्रमा व्यवसाय गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रलाई सिल गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, असन र टेकु आसपासका व्यक्तिमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गर्न सिफारिस गरेको छ । काठमाडौंका प्रजिअ दाहालले न्युरोड क्षेत्र सिल गर्नेबारे भने औपचारिक पत्र आएपछि निर्णय लिने बताए ।

स्याङ्जामा थप एक साता सिल
स्याङ्जा– संक्रमित धेरै भेटिँदा १० दिनदेखि सिल गरिएको स्याङ्जा थप एक साताका नखुल्ने भएको छ । निषेधाज्ञा साउन २९ सम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले बताए । जिल्लाका एसपीसहित ३ प्रहरी कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरूको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ४० प्रहरीमा संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माका अनुसार हालसम्म संक्रमण पुष्टि भएका २ सय ८२ मध्ये १ सय ९८ जना निको भए भने ८२ जना उपचाररत छन् । २ जनाको मृत्यु भएको छ ।

बिर्तामोडमा ॅमास स्क्रिनिङ’
बिर्तामोड– निषेधाज्ञा लागू गरी झापाको बिर्तामोड नगरपालिकाले ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाको पीसीआर परीक्षण थालिएको हो । नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ । कम्तीमा एक हजार जनाको पीसीआर परीक्षण गर्ने गरी स्वाब लिने काम जारी राखेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति बिर्तामोडका संयोजक ओम खड्काले बताए ।
सशस्त्रका प्रहरी निरीक्षक, एक जवान र दुई बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनीहरूको
कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणको दायरा बढाएको खड्काले बताए । दुई साताअघि बाह्रदशी गाउँपालिकाका एक औषधि व्यवसायी र एक नेकपाका स्थानीय नेतामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू संक्रमित रहेकै समयमा बिर्तामोड आएको तथा औषधि व्यवसायीहरू उनीहरूको सम्पर्कमा पुगेकाले मास स्क्रिनिङ गर्नुपरेको खड्काको भनाइ छ । समुदायमा संक्रमणको जोखिम कम गर्न नगरपालिकाले साउन १९ देखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन घोषणा गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ९३ पुगेको छ ।

समाचार

कोरोनाले थप ५ को मृत्यु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालमा कोभिड–१९ संक्रमणले थप पाँच जनाको निधन भएको छ । वीरगन्जमा दुई, विराटनगर, सिरहा र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको हो । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार बिहान मृत्यु भएका वीरगन्ज–३ छपकैयाका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार ती वृद्धको उपचारकै क्रममा मृत्यु भएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । दमका बिरामी ती वृद्धमा
बिहीबार ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
वीरगन्ज–९ का ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह र रक्तचापका बिरामी थिए । शुक्रबार विराटनगर महानगरपालिका–९ गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार बिहान पौने १० बजे कोसी अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, सिरहा, गोलबजारका २५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भएको छ । मिर्गौलाका बिरामी ती व्यक्ति डायलसिसमा थिए । सर्लाही वसन्तपुरका कोरोना संक्रमित ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल मुलुकमा कुल संक्रमितमध्ये ०.३ प्रतिशतको निधन भएको छ भने कोरोनाले हुने मृत्युदर बढ्दो क्रममा छ ।

 

Page 3
समाचार

प्रभुशमशेरले घरजग्गा किन्दा मुद्दा 'डिसमिस’

- कृष्ण ज्ञवाली

(काठमाडौं) - मेलको सातघुम्तीस्थित वेलकम इन्टर ट्रिटमेन्ट सर्भिस सेन्टरमा गत पुस २५ गते शुक्रबार अपराह्न ४ बजे तीन जनाको टोली प्रवेश गर्छ । उनीहरू त्यहाँ करिब २५ मिनेट बस्छन् र कफी खाएर निस्किन्छन् । उच्च स्रोतका अनुसार स्पा र नेचुरल थेरापी चलाउने उक्त ठाउँमा पुग्नेमध्ये एक जना प्रभुशमशेर जबरा हुन् भने अरू दुई जना कानुन व्यवसायी हुन् । तर एक जनालाई उनले उच्च अदालतका न्यायाधीश भनी चिनाएका छन् । प्रभुशमशेर जबरा दुई जनालाई लिएर त्यो ठाउँमा किन पुगे ? त्यसका लागि अलि पहिलेको घटनाक्रममा पुग्नुपर्ने हुन्छ ।
िि
िज्ञानकुमारी पन्तका सपरिवार अमेरिकामा बस्छन् । उनीहरूको ठमेल सातघुम्तीमा आठ आना जग्गा छ । उनी आफ्ना जेठा छोरा रमेश पन्तसँगै २०७५ असार २० गते नेपाल आइन् । उनीहरू नेपाल आउनुका धेरै काममध्ये एक त्यही आठ आना जग्गा र त्यसमा बनेको दुईतले घरको भाडा सम्झौता नवीकरण गर्नु थियो ।
रमेशले घर भाडामा लिएका भविश्वर शर्मासँग कुराकानी गरे । उनले ‘भूकम्पले भत्केको र क्षति भएको ठाउँ तपाईंले नै बनाउनुस्, अर्को ५ वर्ष तपाईं यही घरमा बसी व्यवसाय गर्नुहोस्, हामी सबैको सल्लाहबमोजिम थप ५ वर्षका लागि दिन्छु । अमेरिका फर्कनुअघि कागज (करार सम्झौता) गरौंला’ भने । उनीहरूबीच भएको मौखिक सहमतिमा २०७५ साउन १ देखि १० प्रतिशत र त्यसपछिका वर्षमा ५ प्रतिशतका दरले बढाएर भाडा दिने सहमति भयो । केही कठिनाइ देखाएर कागजी सम्झौता हुन पाएन । भविश्वरको दाबीअनुसार त्यही मौखिक सम्झौताका आधारमा उनले प्रत्येक महिनाको १२ गते बैंक खातामा भाडा जम्मा गरिदिँदै आएका छन् । अनि घरधनी रमेशलाई भाइबर वा इमेलबाट रकम जम्मा गरिदिएको खबर पठाउँछन् । उताबाट पनि पाएको जवाफ आउँछ । त्यसरी नै उनले २०७५ फागुनसम्मको भाडा पठाइसकेका थिए ।
िि
ि२०७५ मंसिर २८ गते ३५ दिने सूचना दिई घर खाली गर्न सूचना आयो । भविश्वर अचम्ममा परे । सोधखोज चल्दै गर्दा ३५ दिन कटेपछि फागुन ७ गते घरधनी ज्ञानकुमारीले जिल्ला अदालत काठमाडौंमा मुद्दा हालिन् । त्यो मुद्दा पाँच पटकसम्म पेसीमा चढेर फिर्ता भएको अभिलेखबाट देखिन्छ ।
मुद्दामा ज्ञानकुमारीले गरेको दाबीअनुसार २०७० साउन १ देखि पाँच वर्षका लागि ठमेलको घर र जग्गा भाडामा दिइएको हो । २०७५ असार मसान्तमा अवधि सकिँदासमेत भाडामा लिनेहरूले घर खाली गरेनन् भन्ने उनको दाबी थियो । भाडामा लिनेहरूले ‘हामी अन्यत्र खोजिरहेका छौं, खाली गरिदिन्छौं’ भनी जवाफ लेखेर आलटाल गरेको भन्दै उनले अदालतमा घर खाली गराइदिन आदेश माग गरेकी थिइन् । उनले भाडा पनि नपाएकाले घर खाली गराउन मुद्दा दिनुपरेको फिरादपत्रमा लेखेकी छन् ।
जवाफमा भविश्वरले व्यवसाय सञ्चालनका क्रममा घरको मर्मत र पूर्वाधार निर्माणमा आफ्नो लगानी परेको दाबी गरे र त्यसलाई सम्झौताकै हिस्साका रूपमा व्याख्या गरे । २ करोड ५० लाख रुपैयाँ खर्च भएको दाबीसहित त्यति रकम क्षतिपूर्ति दिएमा मात्रै आफूले घर छाड्ने दाबी उनले गरे । उनले २०७६ वैशाख ६ गतेको प्रतिउत्तरमा भनेका छन्, ‘घर मर्मत र रङरोगन गरेर थप पाँच वर्षका लागि भाडाको सम्झौता भएको हो । त्यसको क्षतिपूर्ति दिए खाली गरिदिन्छु ।’
उनले केही आधार देखाएर यत्तिकै घर खाली गरिदिँदा आफूमाथि अन्याय हुने दाबी गरे । २०७५ को दसैंमा नेपाल आएका बेला घरधनी रमेश (ज्ञानकुमारीका छोरा) ले घरभाडा सम्झौताको दुई प्रति करारपत्र तयारी गरेका थिए । त्यसक्रममा मर्मत गर्नेलगायतका संरचना बनाउन भविश्वरले खर्च गर्ने अनि त्यसबापत पुरानै भाडामा निश्चित हिस्सा मात्रै बढाउने सहमति भएको थियो । आफू अमेरिका
गएपछि आमाको हस्ताक्षर गरेर एक प्रति करार पठाइदिने भने पनि रमेशले करार सम्झौताको प्रति पठाएनन् ।
यता २०८० को असार मसान्तसम्म व्यापार गर्न भाडामा लिएको घरको मर्मत र पूरै सजावट गरी स्पा र हेल्थ क्लब निर्माण गर्दा डेढ करोड रुपैयाँ खर्च भएको भविश्वरको दाबी छ । त्यसका लागि करिब चार महिना समय लागेको र त्यस अवधिमा व्यापार नभए पनि आफूले भाडा बुझाएको उनले दाबी गरे । २२ जना कर्मचारीलाई ५ वर्षका लागि करार सेवामा नियुक्ति दिएको र त्यसले थप व्ययभार बढेको जिल्ला अदालत काठमाडौंबाट प्राप्त कागजातबाट देखिन्छ । लिखित जवाफमा त्यो मुद्दा जिल्ला अदालत काठमाडौंको अधिकार क्षेत्रमा नपर्ने दाबी पनि थियो किनकि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २५ लाख रुपैयाँभन्दा कम विवादका विषय स्थानीय सरकारको न्यायिक समितिले हेर्नुपर्ने व्यवस्था छ ।
िि
िएक्कासि नेपाल आएकी ज्ञानकुमारी पन्तले २०७६ साल मंसिर २४ गते सुटुक्क ४ करोड रुपैयाँमा घरजग्गा बेचिन् । मालपोत कार्यालय डिल्लीबजारको अभिलेखअनुसार ३ करोड ११ लाख ६० हजार रुपैयाँमा जग्गा र ८८ लाख ३९ हजारमा घर बिक्री भएको देखिन्छ । जग्गा बिक्री भएको करिब तीन सातापछि ज्ञानकुमारीले पुस १८ गते जिल्ला अदालतमा चलिरहेको ‘घर खाली गराइपाऊँ’ भन्ने मुद्दा फिर्ता लिइन् । भविश्वरसँगको करार विवादबाट ज्ञानकुमारी बाहिर निस्किन् । अब नयाँ पात्रको रूपमा प्रभुशमशेर जबरा विवादमा प्रवेश गरे किनकि त्यो जग्गा उनैले खरिद गरेका थिए ।
जग्गा किनेलगत्तै ठमेलको त्यही घर खाली गराउन प्रमुशमशेरले भविश्वरलाई भेटे । प्रभुशमशेरसँग भविश्वरले पुरानै अडान दोहोर्‍याए । उनले भने, ‘जग्गाको करार र क्षतिपूर्तिको विवाद अदालतमा छ, यस्तो बेलामा कमसेकम मुद्दामा जोडिएका मान्छेलाई तपाईंले सोध्नुपर्ने हो ।’ जवाफमा प्रभुले भविश्वरलाई भने, ‘मैले कानुनी रूपमा हेर्ने हो, जग्गा किन्न धनीबाहेक अरूलाई सोध्न जरुरी छैन, त्यो मेरो कुरा हो ।’
त्यसपछि प्रभुशमशेरले काठमाडौं महानगरपालिकाको २६ नम्बर वडा कार्यालयमार्फत घर खाली गराउनू भन्ने ३५ दिने सूचना निकाले । समानान्तर रूपमा भविश्वरलाई घर खाली गराउन दबाब पनि दिइरहे । गत पुस २५ गते अपराह्न ४ बजे जबरा, उच्च अदालत पाटनका न्यायाधीश र कानुन व्यवसायी भविश्वरले स्पा र नेचुरल थेरापी सञ्चालन गरिरहेको ठाउँमा पुगेको स्रोतको दाबी छ । स्रोतले न्यायाधीश र ती कानुन व्यवसायीको नाम खुलाउन चाहेन । कान्तिपुरलाई प्राप्त भिडियो फुटेजमा न्यायाधीशकै अनुहार चिन्न सकिने अवस्थामा छैन ।
त्यस दिन उनीहरूबीच त्यो जग्गामा बाटो पुर्‍याउनेबारे कुरा भएको थियो । अगाडिपट्टिको मोहोडा साँघुरो भएकाले प्रमुशमशेरले पछाडिपट्टि पनि बाटो खुलाउन खोजेका छन् । तर त्यसका लागि पछाडिपट्टिका केही जग्गाधनीलाई सहमत गराएर, उनीहरूको जग्गाको टुक्रा किनेर त्यसलाई बाटो बनाउनुपर्छ । प्रभुशमशेरले आफ्नो साथमा गएका कानुन व्यवसायीलाई ‘अब पछाडिको यो बाटो खोलिहालिन्छ नि, है त ?’ भनेर सोधे । कानुन व्यवसायीले ‘हुन्छ, एक महिनामा नै काम गर्न सकिन्छ,’ भनी जवाफ दिए । उनले भविश्वरलाई भने ती व्यक्ति उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश
भनी चिनाएका थिए । कान्तिपुरसँगको प्रतिक्रियामा प्रभुशमशेरले उनी त्यतिबेला कानुन व्यवसायी मात्रै रहेको, पछि न्यायाधीश भएको बताए । उनीहरूले त्यो जग्गा कम्तीमा प्रतिआना ३ करोड रुपैयाँका दरले बिक्री हुन सक्ने भनी गफ गरे । कफी पिई बिदा भए । त्यसको
केही दिनमै लकडाउन भयो । लकडाउनपछि भने प्रभुशमशेरले घर खाली गराउन ताकेता गरेका छैनन् ।

अनौठो आँट
प्रभुशमशेरले अदालतमा विवाद चलेको जग्गा नै किन्ने आँट कसरी गरे ? जग्गाको भोगचलन र त्यसको मोलको आधाभन्दा बढी हिस्सामा क्षतिपूर्तिको मागदाबी मुद्दा अप्ठेरो नै थियो तर त्यही जग्गा एकाएक प्रभुशमशेरले किने । ‘अदालतमा विचाराधीन मुद्दाका बारेमा सरसल्लाह गर्ने सिलसिलामा उनीहरूले प्रभुशमशेरलाई भेटेका रहेछन्,’ उच्च अदालत पाटन स्रोतले भन्यो, ‘समस्या सुनेपछि कुराकानी हुँदा मुद्दासहित नै प्रभुजीले जग्गा किन्ने रुचि देखाउनुभएछ, भाउ मिलेछ, अनि किन्नुभएको हो ।’ यो कुरालाई प्रभुशमशेरले पनि स्वीकार गर्दै आफूले उनीहरूलाई मिलाइदिन खोजेको बताए । मालपोत कार्यालयमा करिब ४ करोड रुपैयाँको लिखत रहे पनि प्रभुशमशेरले नजिकका मानिसहरूसँग ७ करोड ७५ लाख रुपैयाँमा जग्गा किनेको बताएको स्रोतको भनाइ छ ।
जग्गा किनबेचका क्रममा काठमाडौं महानगरपालिकाले हतार हतारमा निर्माण सम्पन्न प्रमाणपत्र दिएको छ । घर वरपर टहरा र अरू संरचना भए पनि त्यसबारे उल्लेख नभएको महानगर स्रोतले बतायो । ‘निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा महानगरपालिकाका कर्मचारीहरू एकपटक पनि फिल्डमा आएका छैनन्,’ भविश्वरले भने । यता प्रमुशमशेरले घरजग्गा किनेको केही दिनमा त्यही जग्गा धितो राखेर प्राइम बैंकबाट ३ करोड ७५ लाख रुपैयाँ ऋण लिए ।
अदालतमा विचाराधीन कतिपय मुद्दा–मामिलामा अस्वाभाविक ‘रुचि’ राख्ने गरेको आरोप प्रभुशमशेरमाथि छ । उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका सहोदर भाइ हुन् । राजधानीमा केही दिनअघि भएको कानुन व्यवसायीहरूको भेलामा केही कानुन व्यवसायीले ‘न्यायाधीशहरूको नातेदारको अस्वाभाविक दौडधुप’ का कारण न्यायपालिकाको जनआस्थामाथि प्रहार भएको भन्दै सांकेतिक रूपमा आवाज उठाएका थिए । त्यही विषयमा उनीहरूले बिहीबार नेपाल बार एसोसिएसनमा २१ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

समाचार

‘कानुनसम्मत रूपमा किनेको हुँ’

- कान्तिपुर संवाददाता

घरवाला र भाडामा लिनेको बीचमा घर खाली गर्नेबारे विवाद रहेछ । उहाँहरूलाई राखेर मैले कुरा पनि गराइदिएको थिएँ । बुझ्दै जाँदा भाडामा लिनेले १२/१३ महिनादेखि भाडा नदिएपछि घरधनीले घर खाली गराउनुपर्‍यो भन्नुभएको रहेछ । अनि घरधनीले मलाई बिक्री गरेको हो ।
त्यसबेला पनि भाडामा बस्नेलाई मैले यसरी लिँदैछु भनेको हो । किन्ने मानिसले जग्गा रोक्का छ कि छैन भनी हेर्ने हो । घर खाली गराइपाऊँ भनेको त त्यो मुद्दै होइन
नि ! उहाँहरूको मौखिक ५ वर्ष दिने कुरा भएको रहेछ । घरधनीले होइन भन्नुहुन्छ । उहाँहरूको विवाद नै त्यही हो । उहाँहरूले बिक्री गर्नुभयो, मुद्दा फिर्ता गर्नुभयो र विदेश जानुभयो । भाडामा लिनेले मलाई ३ वर्ष माग्नुभयो, मैले २ वर्ष दिन्छु भनें तर पहिलेको दरमा दिन सक्दिनँ, मैले व्याज तिर्नुपर्छ, रेट बढाउनुहोस् भनेको हुँ । विवाद यत्ति हो । भाडामा बस्नेले जुन दरमा मैले किनेको हुँ, त्यही दरमा माग्नुहुन्छ । मैले त्यही दरमा त किन दिने ? मसँग पो कुरा गर्नुपर्ने, उहाँले अन्त अन्त कुरा गरेर त भएन नि !
मैले उच्च अदालतको कुनै न्यायाधीश लिएर गएको छैन । भिडियोको कुरा गलत हो । बरु हामी स्पा गर्न जाँदाको कुरा होला । हामीसँग गएको त्यो पाटनको श्रीमान् (न्यायाधीश) हैन, बरु पछि श्रीमान् भा हो । उहाँ पनि स्पा गर्न गएको हो, त्यहीं भेट भएको हो । अरू वकिल कोही गएको छैन, बैंकको स्टाफ भ्यालुएसन गर्न गएको हो ।
यसमा मेरो दाइ (प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा) पदमा भएको भन्दैमा नाम जोड्नु बेकार हो । यसमा हाम्रो नाताको कुनै सम्बन्ध छैन । घर किन्दा हेर्नुपर्ने कुरा हेरेको छु । मालमा रोक्का छ कि छैन हेरिएको छ । घरको भाडामा को बसेको छ भनेर हेर्छ र ? न त उनीसँग सम्झौता नै छ । कुन मितिमा मुद्दा छ, त्यो सबै निस्किहाल्छ । भाडामा लिनेले मसँग पो सम्झौता गर्नुपर्छ त ! किन्नुअघि पनि उहाँलाई थाहा छ ।

Page 4
Page 5
फिचर

नवराजले बोकेको झन्डाको अर्थ

- शंकर तिवारी

 

जेठ महिनामा मध्यपश्चिमको सोतीमा केही निर्दोष नागरिक मारिए । तिनको जातीय हत्या भएको हो कि सामूहिक, यसबारे लामो समयसम्म बहस जारी रहला । भेरी घटनासम्बन्धी संसदीय र स्वतन्त्र प्रतिवेदनहरूमा त्यसबारे स्पष्ट मतान्तर देखिसकिएको छ । तर, जे होस् यो घटना सानो थिएन । यसको बाछिटाले सुदूरभविष्यसम्म नेपाली चेतनालाई ऐठन गरिराख्नेछ । हाम्रो सामूहिक विवेक र चिन्तनलाई अनन्तकालसम्म घच्घच्याइरहनेछ ।
नेपालमा नदी विमर्शमा आइरहने कोसी, गण्डकी र कर्णाली मुख्य तीन नदी हुन् । भेरी नदी कर्णाली नदीको एउटा भंगालोका रूपमा आउँछ । तर, जुन दिन भेरी नदीमा नवराज विकलगायत उनका साथीहरूको शहादतको रगत मिसियो, भेरीको आवाज नेपाली गणतन्त्रको मानसमा एउटा आँधी भएर बास बस्न पुगेको छ ।
घटना भइसकेपछि नवराज विकलगायत उनका साथीहरूका, उनका परिवारका, उनका गाउँका अनेक फोटा सार्वजनिक भए । तीमध्ये नवराज विकले बोकेको राष्ट्रिय झन्डाको फोटोले आजपर्यन्त बिझाइरहेको छ । यो आलेख भेरी नदी किनारमा वारपार गरी हिँड्ने त्यस कथित दलित युवकले कुन चेतनाले राष्ट्रिय झन्डा बोकी हिँड्थ्यो भन्नेबारे केन्द्रित रहनेछ ।

सामान्यतया हामी राष्ट्रिय झन्डा राष्ट्रिय दिवसहरूमा वा कुनै अन्तर्राष्ट्रिय खेलमा, नभए कुनै विदेशी सहरमा देशको प्रचारप्रसार गर्नका लागि बोक्छौँ । नवराज विक कुनै अन्तर्राष्ट्रिय खेलमा नेपालको पक्षमा उभिन वा राष्ट्रिय टोलीलाई समर्थन गर्न उपस्थित हुँॅदा उक्त तस्बिर खिचिएको थिएन । जसै पहिलोपटक नवराजले बोकेको राष्ट्रिय झन्डाको फोटो देखेँ, मलाई त्यो युवक अद्भुत चेतनाले डोर्‍याएको एक्काइसौं शताब्दी सुहाउँदो नवजागरण बोकी हिँडेको पूर्ण नेपाली युवकजस्तो लागेको थियो ।
दुर्गम गाउँमा जन्मेर आफ्ना उमेरका साथीहरूले गर्ने औसत कामभन्दा बेसी राम्रा काम उनले गरेका थिए, खेलकुदका माध्यमबाट । मूलतः त्यसैको परिणामस्वरूप उनले नेपाल प्रहरीमा छनोट हुनका लागि पहिलो तहको प्रतिस्पर्धात्मक परीक्षा पनि पास गरिसकेको थिए । नवराजकी आमाले आँगनमा बिस्कुन छरेझैं, जसरी उनको छोराले प्राप्त गरेका, जितेका, आर्जन गरेका प्रमाणपत्र सार्वजनिक गरिन्, तीसँगै नवराजको योग्यता, क्षमता अनि उनले बोकेको सम्भावनाका परिचायक सबुत बनेर राष्ट्रसामु सार्वजनिक भए । ती असीमित सम्भावनालाई जातप्रथाको घीनलाग्दो पर्खालले गर्ल्यामगुर्लुम ढालिदियो र ती सपना अझ महान् विपना हुन नपाई हठात् मृत्युवरण गर्न बाध्य पारिए ।
कुनै पनि खेल जित्नका लागि सामूहिक भावना अत्यन्त ठूलो हुन्छ । पश्चिमाहरू खेललाई धेरै महत्त्व दिन्छन् र खेललाई नेतृत्व विकासको कसीबाट हेर्छन् । नवराज विकले खेलकुद क्षेत्रको माध्यमबाट समाजमा आफ्नो प्रतिष्ठा स्थापित गर्दै र सुयोग्य भावी नेताको रूपमा आफूलाई हुर्काउँदै गएका थिए । कथित उपल्लो जातकी उनकी प्रेमिका नवराजका तिनै खेल–कौशलबाट प्रभावित थिइन् ।
मनुष्य विलक्षण सम्भावनाको पुञ्ज हो । ती सम्भावना कुन माध्यमबाट प्रस्फुटन हुन्छन्, त्यो हमेसा महत्त्वपूर्ण हुन्छ । नवराजले खेलका माध्यमबाट आफूमा अन्तर्निहित नेतृत्वदायी क्षमता सार्वजनिक गर्दै थिए । उनका गैरदलित साथीहरू पनि उनको प्रेममा सहमत थिए । उनीहरू पनि नवराजसँगै उनको प्रेमको सार्थकताको यात्रामा सरिक हुन लालायित थिए । सुखान्त हुनुपर्ने परिणति दुःखान्तमा बदलिएको भए पनि, त्यो नवराजको नेतृत्वदायी क्षमताको कारण, साथीहरू उनीसँग सहमत भएका कारण उनीसँगै युवती लिन गएका थिए भन्ने बुझ्नु पक्कै अन्यथा हुने छैन ।
नेपालको संविधानको धारा– २४ मा जातीय छुवाछुत र भेदभावविरुद्धको हकका साथै धारा– ४० मा दलितको हकसम्बन्धी प्रावधान अलगअलग लेखिएको छ । एउटै विषयमा दुई अलग मौलिक हक किन भनियो, मौलिक शोधकै विषय होला । मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सामाजिक न्यायको हक आदि उल्लेख छन् । संविधानमा लेखिएका यावत् हक र अधिकार नवराजको नेपाली भएर बाँच्ने अधिकार जोगाउन किन असमर्थ रह्यो ? किन संविधानले आफ्नै धारामा उल्लिखित हकको रक्षा गर्न सकेन ? त्यो गम्भीर विमर्शको विषय हो र हुनुपर्छ ।
अमेरिकामा हालै एक अश्वेत नागरिकलाई दिउँसै सडकमा पाशविक तवरले मारियो । नागरिकको रक्षाका लागि बसेका ‘रक्षक’ बाटै नै उनको भक्षण भयो । त्यसको कम्पन अमेरिकाभन्दा धेरै पर भारत र नेपालसम्म ‘ब्ल्याक लाइभ्स म्याटर’ सँगै ‘दलित लाइभ्स म्याटर’ बनेर पुग्यो ।
यही सेरोफेरोमा रुकुममा भएको नरसंहारको घटनाले हाम्रो गणतान्त्रिक चेतनामाथि कालो पोतिएको छ । भेरीबाट आएको यो झिल्कोले नेपाली समाजले सदियौंदेखि तल्लो जातिका नाममा दलितहरूलाई, आदिवासीलाई गरेको ऐतिहासिक अपराधहरूको जुन निरन्तरता छ, त्यसलाई चाँडोभन्दा चाँडो भूल सुधार गर्दै नामेट गर्ने दिशामा अगाडि बढ्न आह्वान गरेको छ । नवराज विक र उनका साथीहरूको जुन तबरबाट बर्बर किसिमले संहार गरियो, त्यो तहको मानवताविरुद्धको जघन्य अपराध हामीले इतिहासमा पढेका पनि थिएनौँ । तर, यो घटना गणतन्त्रकालमा आएर घट्यो । यो घटना राजनीतिक रूपले गणतन्त्रकालमा भए पनि यसले हाम्रो चेतनामा रहेको कमजोरी र चेतनाको आदिम संकटलाई उदांगो
पारिदिएको छ ।
२०६२/६३ को जनआन्दोलनले निर्दिष्ट गरेअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको धेरै समय भएको छैन । बिसे नगर्चीले गोरखा राज्य विस्तार हुँदै आजको नेपाल बन्ने क्रममा जुन योगदान गरेका थिए, नवराज पनि गणतन्त्र नेपाललाई त्यस्तै कुनै अदित्य योगदान गर्ने सामल बोकेका युवक थिए । तर, हाम्रो जातीय अहंकारले त्यो सपनाको हठात् हत्या गरेको छ ।
नवराज विकले बोकेको झन्डालाई तीन तहमा हेर्न सकिन्छ ।
१. चल्तीको सामाजिक संरचनाको व्याख्यामा कथित दलित परिवारमा जन्मेर पनि उनले आफ्नो राष्ट्रभक्ति अरूको भन्दा कम छैन भन्ने दर्साउन नेपालको झन्डा बोक्ने गरेको हुनुपर्छ । दलित भएकै कारण पाइला–पाइलामा अपमान सहनुपर्नाले त्यो अपमानले प्रकारान्तरले आफ्नो राष्ट्रभक्तिमा प्रश्न उठ्ने भएकाले उनी कथित ठूला जातिका मानिससामु आफू बोल्नुभन्दा आफूले बोकेको राष्ट्रिय झन्डा बोलोस् भने उनलाई लाग्थ्यो । राष्ट्रिय झन्डा बोकी हिँडेर उनी आफ्नो राष्ट्रभक्तिमाथि शंका गर्नेलाई नाजवाफ पार्न चाहन्थे ।
२. यो झन्डाले, यो संविधानले कथित उपल्लो जतिलाई जति अधिकार दिएको छ, त्यति नै अधिकार मलाई पनि दिएको छ भन्ने नवराजको मनमा गढेको हुनुपर्छ । एउटै झन्डाले दिने अधिकार व्यक्तिपिच्छे फरक हुनु हुँदैन । कुनै एक नागरिकको झन्डाप्रतिको स्वामित्व धेरै र अर्काको स्वामित्व कम हुने भन्ने हुँदैन र त्यो झन्डामुनि परेका बखतमा जो–कोहीले प्राप्त गर्ने अधिकार र मेरो पनि नैसर्गिक अधिकार बराबरी हुनेछ भन्ने दृढ विश्वास उनमा थियो । संविधानको आलोकमा सबै नागरिक बराबर छन् भन्ने उनी भित्रैबाट महसुस गर्थे । आफूलाई कमजोर महसुस नगर्नका लागि र आफ्नो आत्मबल बढाउन उनी नेपालको राष्ट्रिय झन्डा बोकी हिँड्थे ।
३. संविधानमा यो या त्यो, जे लेखिए पनि व्यवहारमा छुवाछूत र उत्पीडन उनले भोगेको समस्या थियो । जीवनका प्रत्येक पाइलामा ती समस्यासँग जुध्न उनी त्यही संविधानलाई, संविधानको धारालाई टेकेर आफ्नो अधिकार प्राप्त गर्न चाहन्थे, त्यही झन्डामुनि बसेर । अर्थात् उनको मानवीय क्षमता प्रस्फुटन गर्न उनी उनको बाटोमा भाँजो हाल्ने जोकोहीसँग लड्नका लागि झन्डा उपयोग गर्न चाहन्थे । झन्डाप्रति अगाध आस्था हुनु भनेको संविधानले निरूपण गरिदिएका उपाय अथवा त्यस संविधानले निरूपण नगरेका उपाय उनी संवैधानिक शैलीबाटै प्राप्त गर्न चाहन्थे । उनी संविधानको बाहेक भएर होइन, संविधानभित्रैबाट ती अधिकार प्राप्त गर्न चाहन्थे ।
अम्बेडकरले भनेका छन्— जाति प्रथा एक किसिमको मानसिक रोग हो । यो मानसिक रोगबाट उत्पीडक पनि मुक्त छैन र उत्पीडित मुक्त हुने कुरै रहेन । तिनै अम्बेडकरले भारतीय दलितहरूलाई संवैधानिक माध्यमबाटै आफ्नो मुक्ति खोज्न सुझाएका थिए अर्थात् शान्तिपूर्ण संघर्षबाटै संविधानअन्तर्गत रहेर संविधानभित्रबाटै अधिकार छिन्न सिकाएका थिए । ती नवराजले अम्बेडकर भलै नपढेका थिए होलान्, तर उनका पदचापले, उनले बोकेको झन्डाले त्यतैतर्फ संकेत गरेका थिए ।
िि
ियस स्तम्भकारले ती दलित युवक नवराज विकले बोकेको राष्ट्रिय झन्डालाई यही संवैधानिक आलोकमा हेर्ने कोसिस गरेको हो । दलित मुक्तिका लागि ठूलो भूमिका खेलेको भनिएको माओवादी सशस्त्र विद्रोहको अत्यन्त धेरै प्रभाव परेको ठाउँमा समेत यसप्रकारको घटनालाई जसरी कथित ठूला जातले सदर गरे र त्यो पार्टीको केन्द्रले यसबारे बोल्न लामो समय आनाकानी गर्‍यो, सामान्य घटनाका रूपमा यसलाई लिने कोसिस गर्‍यो, त्यसले नेपालको दलित आन्दोलनसँग जोडिएका अभियन्ताहरूलाई एउटा नयाँ शिराबाट सोच्न बाध्य पारेको छ । नेपाली कांग्रेसको सिंगो पार्टी संयन्त्र यो मामिलामा परिचालन भएको देखिएन ।
बहुदलीय परिपाटीमा राजनीतिक पार्टीहरू महत्त्वपूर्ण कुरा हुन् । तर, जब लोकतन्त्रमा पार्टीतन्त्र हाबी हुन्छ, भेरी नरसंहारजस्ता घटनाका पीडितहरूले न्याय पाउने सम्भावना कम हुन्छ । पार्टीतन्त्रको जालोले नवराज विकको बाबुलाई उनका छोराको पोस्टमार्टम रिपोर्ट हात पार्नुअगावै दाहसंस्कार गराउन बाध्य पारे । उनको हातमा किरिया खर्च जबर्जस्ती थमाएका समाचार पनि आए । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले यस घटनाबारे नबोलेको भए वर्तमान सत्ताले घटनालाई यसै आलटाल गरिछाड्ने रहेछ ।
शान्ति अध्ययनका प्रणेता जोन गाल्टुङदेखि नवमार्क्सवादी अन्तिनियो ग्राम्स्कीसम्मले संरचनात्मक हिंसाबारे धेरै लेखेका, बोलेका छन् । नेपालमा दलितहरू, मधेसीहरू, महिलाहरू, आदिवासीहरू संरचनात्मक हिंसाबाट पीडित छन् । एउटा ब्राह्मणवादी चिन्तन के छ भने दलितहरू आफूभित्रै छुवाछूतको अभ्यास गर्छन् र हामीलाई छुवाछूत नगर भनेर कथित उपल्लो जातका लाई भन्छन् । कथित उपल्लो जातका मानिस के बिर्सन्छन् भने ती दलितले आफूबीच छुवाछूत गर्नसमेत उपल्लो जातबाट सिकेका हुन् ।
जुन मितिसम्म कथित उपल्लो जातले छुवाछूतको जड संरचनालाई त्याग्न सक्दैन, ती दलितले पनि नसक्लान् । मनुस्मृति यसकारण पनि इतिहासको महत्त्वपूर्ण विभाजक पुस्तक मानिन्छ कि यसले समाज विभाजनको मानक बोकेर आएको थियो र त्यो समाज विभाजनको कुरा जातिप्रथासँग विद्रोह गरेर आफ्नो अलग सम्प्रदाय बनाएका गुरु नानकले स्थापना गरेको शिख समुदायमा समेत जात प्रथा कालान्तरमा हावी हुन पुग्यो । अम्बेडकरले जात प्रथाको विरोध गरे, जातप्रथा धर्मसँग जोडिएको देखे । धर्मलाई शास्त्रले सहारा दिएको देखे । त्यसैकारण अम्बेडकरले जबसम्म जाति प्रथा प्रवर्द्धन गर्ने शास्त्रहरू तोडिन्नन्, च्यातिन्नन्, तबसम्म जातप्रथा रहन्छ भन्ने बुझेर जात, धर्म र शास्त्रको त्रिखुटी ओदानको आलोकमा हेरेका थिए । जतिप्रथाबाट मुक्तिको राह पहिल्याउने कोसिस गरेका थिए ।
जातप्रथा अन्त्यका लागि गान्धी र अम्बेडकरले सुझाएको मुख्य पाटो अन्तर्जातीय विवाह पछिल्लो समयमा जातीय हिंसाको सर्वाधिक ठूलो सिकार भएको छ । अर्थात् दलित मुक्तिका लागि संघर्ष गरेर त्यसको पक्षमा लेखेका/पढेका/बोलेका अग्रणी कार्य गरेका मानिसले देखाएको पहिलो उपाय पनि अहिले काम नलाग्ने सावित भएको छ । नेपालमा पनि कानुन निर्माण गरेरै दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन र प्रेरणास्वरूप नगद पुरस्कार दिने व्यवस्था सरकारले गरेको छ । तर, यो पुरस्कारले दिने रकमभन्दा समाजले दिने दबाब, उत्पीडन र हिंसाले गर्दा अन्तरजातीय विवाह गर्नेहरू झन् भयावह समस्याको सिकार भएका छन् । त्यसैगरी आरक्षणका बारेमा पनि नयाँ शिराबाट सोच्न ढिला भएको बारे भारतीय चिन्तक अनिल टेल्टुम्देले ‘द रिपब्लिक अफ कास्ट’ मा विस्तारमा चर्चा गरेका छन् । यस मानेमा सदियौंदेखि उत्पीडित दलित जातिको मुक्तिका लागि नयाँ बाटो खोज्नुपर्ने टड्कारो अवस्था आएको छ ।
गान्धीले सुझाएको बाटो दलितको आँखाबाट हेर्दा उदार ब्राह्मणवादी बाटो थियो । ब्राह्मणको आँखाबाट हेर्दा अम्बेडकरले देखेको बाटो अत्यन्त क्रान्तिकारी थियो । यी दुईको बीचबाट लोहियाले जात र वर्गबारे गम्भीर तत्त्व मीमांसा गरेका थिए । उनले जातलाई स्थिर वर्ग भनेका थिए भने वर्गलाई चल्तीको र चालु जात भनेका थिए । अम्बेडकरले कहलिएका विश्वविद्यालयबाट जति नै ज्ञान आर्जन गरे पनि उनको दलितको पहिचानले उनलाई आजीवन छाडेन । त्यसैले उनले अन्तिममा मूल हिन्दु धर्म छाडेर हिन्दु धर्मकै भँगालो मानिने बौद्धधर्ममा आफूलाई समाहित गरे । अम्बेडकरले यसमा स्पष्ट बुझिने तर्क दिए– हिन्दु धर्मका जडशास्त्रहरूलाई प्रश्न गरेको या त बुद्धले हो या त गुरु नानकले नै हो । अम्बेडकरले बुद्ध र नानकमध्ये बुद्धलाई रोजे ।
बुद्धले सबैलाई शंका गरेर हेर र प्रमाणको कसीमा राखेर मात्र स्वीकार गर भनेका छन् । अम्बेडकरले यस मानेमा बुद्धधर्म रोज्नु उनको ठीक रोजाइ थियो । मुलुकी ऐनमा जातपात छुवाछूत उन्मूलनका कुराहरू लेखेर मात्रै जातीय मुक्ति हुँॅदोरहेनछ अर्थात् अम्बेडकरले भनेजस्तो धर्म परिवर्तन गरेर पनि दलितको दैनन्दिन जीवन सहज नहुने रहेछ । त्यसका लागि मानिसको चेतना फेर्नुपर्ने रहेछ । यो चेतना फेर्नका लागि शिक्षा र अवसर महत्त्वपूर्ण हुन् । एउटा व्यक्तिले आफूभित्र रहेका असीमित सम्भावनालाई प्रस्फुटित हुन दिने वातावरण प्राप्त गर्नु नै राजनीतिक, सांस्कृतिक, आर्थिक स्वतन्त्रताको परिचायक र निर्णायक तत्त्व हुनुपर्छ ।
दलित मुक्तिका अभियन्ता, सहयोगी र पक्षधरहरूले यस संविधानले चिनेको संविधानबाहिर वा भित्रभन्दा पनि त्यस बीचको मध्यमार्गी साँघुरो गल्छेडोबाट संघर्ष गरेर यो कुराको निरूपण गर्नुपर्ने भएको छ । ‘ह्वाई नेसन्स फेल’ का लेखकहरूको नयाँ पुस्तक ‘द न्यारो कोरिडर’ मा त्यो मध्यमार्गी बाटोको बृहत् चर्चा गरिएको छ । नवराजले बोकेको झन्डाको अर्थ हामीले त्यस मानेमा बुझ्यौं भने मात्रै उनको शहादतमा भेरीमा सिञ्चित रगतलाई गणतन्त्र नेपालको मानवतावादी र वैज्ञानिक चेतले न्याय गरेको ठहरिनेछ ।
रुकुम घटना ‘गुणकारी गणतन्त्र’ बन्ने बाटोमा प्रमिथसले उछिट्याएको आगो बनोस् ।

फिचर

लेखनाथको त्यो चिठी

- लोकरञ्जन पराजुली

२०२०–२१ सालतिरको कुरा हो । महेन्द्रले बहुदलीय व्यवस्था फ्याँकेर पञ्चायत लागू गरिसकेका थिए । उनी एकछत्र शासन गर्दै थिए । बहुदलपक्षीय र पञ्चायत प्रतिरोधी आन्दोलन निमिट्यान्नैसरह पार्न सकेकाले अधिनायक र उनका सेनामेना मैमत्त थिए । २००७ सालको आन्दोलनले राणा शासन बढारेपछि खुलेका सामाजिक संस्था, क्लब, पुस्तकालय, थिएटर, समाज सुधार समितिजस्ता जति पनि संघ–संस्था थिए, ती मुर्झाएका थिए । थुप्रै सामाजिक–राजनीतिक कार्यकर्ताहरू कि जेलमा थिए, कि निर्वासनमा, कि जेलबाट बाहिर निस्केर मौन थिए वा कित्ता परिवर्तन गरेर पञ्चायतमा प्रवेश गरिसकेका थिए । समाजमा एक किसिमको मुर्दा–शान्ति थियो । 

यही समय नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको शाखा नेपालभरि खोलिनुपर्ने कुरा भयो । अनि केदारमान व्यथितहरूले देशका प्रमुख स्थानमा साहित्य परिषद् गठन गर्ने गरी अभियान पनि चलाए । पोखरामा पनि यसै मेसो एउटा साहित्यिक संस्था दर्ता भयो— गण्डकी साहित्य संस्थान । साहित्यकार तथा पृथ्वीनारायण क्याम्पसका अध्यापक भोलानाथ पराजुलीको अध्यक्षतामा गठित उक्त संस्थामा सामाजिक आन्दोलनकारी तथा २०१५ सालको उपल्लो सदन महासभाका सदस्य मुक्तिनाथ शर्मा (को अछूत का लेखक), केशवराज पराजुली, तेजनाथ घिमिरे आदि सामेल थिए । पराजुली र घिमिरे पोखराको पहिलो पत्रिका ‘हिमदूत’ को सम्पादन समूहका सदस्य थिए र विद्यालयमा अध्यापन समेत गर्थे ।
‘देशको वाङ्मय सर्वाङ्गपूर्ण बनाउन देशका प्रत्येक कुना कुनाबाट त्यहाँको जनमानसको प्रतिनिधित्व गर्ने साहित्यिक प्रकाशन हुन आवश्यक छ । यही आवश्यकतालाई महसुस गरी साहित्यिक गतिविधि बढाउने, टुसाउन लागेका साहित्यिकहरूलाई प्रोत्साहित गर्ने, लुकेकालाई प्रकाशित गर्ने, यस अञ्चलको देनलाई अजस्र अक्षुण्ण राख्दै साहित्य कला र संस्कृतिको श्रीवृद्धिमा यथाशक्ति योगदान गर्ने’ उद्देश्यले गण्डकी साहित्य संस्थानको स्थापना गरिएको थियो ।
‘दिवंगत साहित्यिकहरूको जयन्तीहरू गर्ने, कलाकृतिहरू प्रकाशित गर्दिने’ आदि पनि लक्ष्य लिएको यो संस्थाले थालनीको रूपमा ‘षाण्मासिक पत्रिका वेणी’ प्रकाशन गर्ने निर्णय गर्‍यो । पोखरामा त्यतिखेर केही प्रेस त थिए, तर तिनले ‘स्तरीय’ पुस्तक छाप्ने ल्याकत राख्दैनथे । त्यसैले, २०२१ सालभरि तयारी गरेर ‘संस्थानको मुखपत्र’ २०२२ सालमा काठमाडौं पुगेर सहयोगी प्रेसमा छापेर ल्याइयो । ‘विविध व्यञ्जनहरूले भरिपूर्ण र कायमा पनि मोटो हुन आवश्यक थियो’ भन्ने बोध हुँदाहुँदै पनि पहिलो अंक ६० पेजको खिरिलै थियो, र ‘गद्यांश झन खिइएको’ थियो । सम्पादकीयमा स्विकारिएकै थियो, ‘जो प्रस्तुत गरिएको छ ती पनि थुप्रोबाट छानिएका होइनन् ।’ हुन पनि, जम्माजम्मी १६ सामग्रीमध्ये आधाजति तीन जना सम्पादकहरूकै रचना थिए ।
‘वेणी’ को पहिलो अंकमा कस्केली कवि लेखनाथ पौडेलको ‘पूर्व–स्मृति’ कविता छापिएको छ । कास्कीको अर्घौं अर्चलेमा जन्मिएका लेखनाथ कविशिरोमणि मुलुकभर प्रसिद्ध थिए र काठमाडौंमा बस्थे । अब पोखराबाट पहिलो साहित्यिक पत्रिका निकाल्नु र आफ्नै घरछेउका ख्यातनाम कविलाई छाड्नु सुहाउने कुरा थिएन । पहिले काठमाडौं पढ्न बस्दा सम्पादकहरूको लेखनाथसँग सामान्य भेटघाट र चिनजान छँदै थियो । त्यसैले, सम्पादकमण्डलका सदस्य तथा संस्थानका सचिव केशवराज पराजुलीले लेखनाथलाई आफ्नो संस्था, आफूहरूले गर्न लागेका गतिविधिबारे र खासगरी ‘वेणी’ प्रकाशन गर्न लागेको जानकारी गराउँदै रचना उपलब्ध गराइदिन रजिस्टरी चिठी पठाए । तर, उनीहरूले त्यतिबेला ख्याति पाएका पोखराकै अर्का कवि/गीतकार धर्मराज थापालाई सम्झेको देखिन्न । शासकको अतिशय चाकरी र पञ्चायतको गुणगाणमा लिप्त रहेकाले थापाप्रति बागी विचार राख्ने सम्पादकहरूको खासै सम्मान थिएन । त्यसैले थापालाई आफूहरूले नसम्झेको सम्पादकद्वयको कथन थियो ।
१९४१ सालमा जन्मेका लेखनाथ त्यतिखेर वार्दक्यमा पुगिसकेका थिए । उमेर आठ दशक नाघिसकेको थियो । चिठी पाएपछि लेखनाथले पनि सानो प्रत्युत्तर–पत्रसहित ‘पूर्व–स्मृति’ शीर्षकको कविता पठाए । सम्पादक पराजुलीले चिठी पठाउँदा मिति लेख्न भुलेका रहेछन् । लेखनाथले पठाएको चिठीबाट सो कुरा थाहा हुन्छ । रमाइलो त के भने लेखनाथ स्वयंले पनि चिठीमा मिति लेख्न भुलेका रहेछन् । लेखनाथले लेखेका छन्, ‘प्रिय बन्धु ! तपाईंको वेमितिको चिठी पायें, पोखराको सम्झनाले प्रेरित भयेर यो कविता पठायेको छु, जो दोस्रो भाग कविता–संग्रहमा रहनेछ. तपाईं पनि २ महिने ‘वेनी’ पत्रमा छपाउनू होला. प्रुफ–शोधनमा भूल नहोस्. पत्रिका निस्के पछी १ प्रति पठाउनुहुन्यैछ.’ (हेर्नुहोस् पत्रको तस्बिर) ।
लेखनाथले पत्रमा अरू दुइटा गल्ती गरेका छन् । एक, पत्रिका दुईमहिने होइन, छमहिने थियो । दोस्रो, पत्रिकाको नाउँ ‘वेनी’ होइन ‘वेणी’ थियो । हुन त बेनी जनजिब्रोमा झुन्डिएको शब्द थियो र दुवै शब्दको अर्थ एउटै हुन्थ्यो– नदीको संगम । तर, वेणीको थप अर्को अर्थ पनि थियो– कपाल बाटेको चुल्ठो, जुन ‘बेनी’ ले सायद बोक्दैनथ्यो ।
चिठीसँगै पठाइएको लेखनाथको कविता ‘वेणी’ को पहिलो अंकको पहिलो सामग्रीको रूपमा छापियो । दुःखको कुरा, आफ्नो छापिएको कविता कविजीले देख्न पाएनन् । कविता मुद्रित भएर आउनुअघि नै लेखनाथको देहावसान भैसकेको थियो । पत्रिकाले पनि दुःख मनाउ गर्दै ‘कवि शिरोमणि श्री लेखनाथ पौड्यालप्रति श्रद्धाञ्जली’ चढायो पहिलो अंकमै ः
‘वेणी फोई विलौना गरिकन अहिले गण्डकी यो सुषायो
हाम्रो साहित्य–संस्थान विचपनि यसले वेदना धेर ल्यायोहाम्रो साहित्यलाई विकसित गरदै जीवनी दी गएको त्यो आत्मा शान्ति पाओस् अमर पद पुगी भाव अर्प्यौं भएको’ ।
लेखनाथले ‘प्रुफ–शोधन’ मा भूल नहोस् भने पनि छापिएर आउँदा साना एका–दुई भूल छिरिहाले । पछि यो कविता
वासुदेव त्रिपाठीले सम्पादन गरेको ‘लेखनाथको प्रतिनिधि कविता’ संग्रहमा संगृहीत गरियो ।

 

Page 6
समाज

बस्तीमा किन छिर्छन् बाँदर ?

- मुकेशकुमार चालिसे

 

नेपालका प्रायः हिमाली उच्च भूभागबाहेक अरू स्थानमा बाँदरले मानिसहरूलाई निकै दुःख दिएको र बालीनाली नोक्सान गरेर आजित पारेको खबर दिनहुँ आइरहन्छन् । यस अवस्थामा अब बाँदरलाई मार्ने (?) कि अन्यत्रै सार्ने भन्ने बहस पनि चलेको छ । यस समस्या पहिचान गर्न गाउँ र नगरपालिकामा बजेटसमेत छुट्याइएको छ । वास्तवमा किन नेपालका करिब १८५ भन्दा बढी स्तनधारी प्रजातिमध्ये बाँदरको चर्चा अधिक हुन्छ ? त्यो बुझ्न पहिले बाँदरका आनीबानी तथा क्रियाकलाप जान्नु जरुरी हुन्छ ।
बाँदर, वनमान्छे तथा आधुनिक मानव समुदायका पुर्खाहरू करिब ३०–४० लाख वर्षअघि पृथ्वीमा देखापर्न थालेको कुरा जीवाशेषहरूबाट अनुमान गरिएको छ । उतिखेर पृथ्वीमा विचरण गर्ने एक किसिमका कीटपतंग खाने स्तनधारी जीवबाट प्राइमेटस् वर्गको उदय भएको थियो । त्यस प्राणीको विकासक्रमले दुईवटा हाँगामा विभाजन ल्यायो । एउटा हाँगा वर्तमानमा कीटपतंग खाने र केही निशाचर (राति सक्रिय रहने) समूहका बाँदर जातिहरू छन् । तिनीहरू आजकल ‘प्रोसोमी’ उपवर्गअन्तर्गत अफ्रिका तथा दक्षिण एसियाका केही भागमा पाइने अल्पविकसित लेमुर, टार्सिएर्स तथा लोरिसहरूका नामले चिनिन्छन् । संख्यात्मक हिसाबले पनि तिनीहरू न्यून छन् । अर्को एउटा हाँगा ‘एन्थ्रोप्वाइडी’ उपवर्गमा पुनः भिन्न धारामा विकसित भई अमेरिकी क्षेत्रमा पाइने थेप्चा नाक भएका बाँदरहरू, नाक ऊर्ध्व भएका अफ्रिकी, एसियाली बाँदरहरू तथा यसैबाट अर्को एक हाँगा पुच्छर नभएका ठूला बाँदर जातिमा विकसित भए । ओराङउताङ, गोरिल्ला, चिम्पान्जी र बोनोबोहरू यसै क्रममा देखा परे । यसैको एउटा स्वतन्त्र हाँगाबाट मानवजातिको विकास भएको तथ्य विभिन्न किसिमका जीववैज्ञानिक खोजहरूबाट प्रमाणित भएको छ ।
िि
िसानो मुसो आकारदेखि भीमकाय गोरिल्ला (करिब ४०० पाउन्ड) जस्ता आकारमा बाँदर जातिहरू पाइन्छन् । हालसम्म ५६ जातिका (वंश) बाँदर करिब २३४ भन्दा बढी उपजातिमा वर्गीकरण गरिएको पाइन्छ । पृथ्वीको भूमध्यरेखाको दुवैतिर ४०ं उत्तर र ४०ं दक्षिणसम्म मात्र पाइने यी विभिन्न जातिहरू युरोप, उत्तर अमेरिका, कोरिया, अस्ट्रेलिया आदि स्थानमा पाइँदैनन् भने अफ्रिका र दक्षिणपूर्वी एसियामा विभिन्न बाँदर जातिहरू बाक्लो रूपले पाइन्छन् । एसियायी तथा अफ्रिकी बाँदरहरू जंगलसाथै मठ, मन्दिर तथा सहर–बजार क्षेत्रमा पनि पाइन्छन् ।
िि
िअन्य स्थानमा पाइएजस्तै नेपालमा पनि विभिन्न धरातलीय जलवायुमा बाँदरका मुख्य ३ जाति पाइन्छन्– रातो बाँदर (मकाका मुलाटा), पहरे वा आसामी बाँदर
(मकाका आसामेन्सिस) र लंगुर बाँदर (सिमेनोपिथेकस इन्टेलस() ।
रातो बाँदर (मकाका मुलाटा) तराईको उष्णप्रदेशीय जंगलदेखि मन्दिर, स्तूप तथा सहरसाथै उच्च पहाडी वनजंगल र हिमालयको फेदीसम्म पाइएको छ । पहरे वा आसामी बाँदर (मकाका आसामेन्सिस) चाहिँ नेपालको संरक्षित वन्यजन्तुमा पर्छ । यो मध्यपहाडी शृंखलाको जंगली भागमा पाइने ध्वाँसे रङको बाँदर हो । हुलाक सेवा विभागले यसको चित्रअंकित टिकट पनि प्रकाशन गरेको छ । यस बाँदरबारे अनुसन्धान हुनै बाँकी छ । नेपालमा यस लेखकले ०५३ देखि अध्ययन गरेर केही तथ्य प्रकाशमा ल्याएका हुन् । पछि अन्तर्राष्ट्रिय रूपमै यस बाँदरलाई ‘नेपालको सङ्ख्या’ भनेर मौलिक रूपमा चिनिन थालियो । तेस्रो लंगुर बाँदर (सिमेनोपिथेकस इन्टेलस() को मुख कालो छ र रौं सेतो छ । लामो पुच्छर भएकाले यो हनुमान बाँदरका नाममा प्रख्यात छ । तराईदेखि उच्च पहाडी भूभागसम्म यो बाँदर पाइन्छ । लंगुर नेपालको तराई, मध्यपहाडतिरका उच्च भाग तथा हिमाली क्षेत्रमा पाइने तीन उपजातिका रहेको निर्क्योल भइसकेको छ ।
के खान्छन् ?
बाँदर जातिलाई सर्वहारी भनिन्छ । बाँदरहरूले खानाका रूपमा फलफूलका पात, मुन्टा, कोपिला, फूल, बियाँ, खोटो/चोप, माटो, खरानी/लेउ, कीरा/फट्याङ्ग्रा र मासु खान्छन् । बढी मासु खाने र त्यसका लागि सिकार नै गर्ने बाँदरमा बबुन्स तथा चिम्पाञ्जी पर्छन् । तर, स–साना कीरा–फट्याङ्ग्रा भने सबै प्रजातिले खान्छन् । तयारी खाना अर्थात् मकै, फलफूल, तरकारी, आलु, अलैंची, धान, गहुँ, कोदो, फापरलगायत मानिसले खेती गर्ने जुनसुकै बाली सहवासका बेला बाँदरका लागि प्रिय र आकर्षणका वस्तु हुन् । यसैले मकालु–वरुणका अरुण–तमोर नदीछेउ, धनकुटा, खोटाङ, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, कास्की, बागलुङ, गुल्मी, बैतडी आदि जिल्लामा किसानलाई बाँदरले दिनु दुःख दिएको छ । मानिसका तयारी आधुनिक उत्पादनमा समेत बाँदर आकर्षित हुन्छ । नेपालका मठ–मन्दिर, घाट र ध्यानकेन्द्रतिर अनेक क्रियाकलापमा मग्न बाँदर देखिन्छन् । ती अक्सर कोन समाती आइसक्रिम चाटिरहेका, मानिसले झैं ठाडो घाँटी लाएर कोकाकोला पिइरहेका, भान्सामा सिठ्ठी लागेपछि प्रेसर कुकर बोकेर दौडिरहेका, आलु–चिप्स खाइरहेका, मानिसका बालीतिर रमाइरहेका देखिन्छन् ।
िि
िबाँदरलाई पनि मानिसलाई जस्तै रोगव्याध लाग्छ । निमोनिया बाँदरहरूमा खतरनाक हुन्छ । रुघाखोकी, पेटसम्बन्धी पीडा, जुका आदिले बाँदरलाई सताइरहेको हुन्छ । बाँदरले मानिसका रोगहरू ओसार्ने काम पनि गर्न सक्छन् जस्तै– औलो, पहेंलोज्वरो, मेनेन्जाइटिस, क्षयरोग, छालाका रोग, जुका आदि । केही बाँदरमा गलगाँड तथा पक्षाघात (प्यारालाइसिस) हुने सम्भावना भेटिन्छ भने केही पोलियो रोगले मरेका पनि पाइन्छन् । मानिसलाई लाग्ने सबै रोग बाँदर प्रजातिमा सर्ने र बाँदरबाट मानिसमा सर्ने भएकाले मानिसका रोगका लागि बाँदरमा अनुसन्धान र औषधिको प्रयोग गरी खोपहरूसमेत विकसित भएका छन् । नेपालमै बाँदरपालन गरी औषधि विज्ञानमा राजस्व कमाउने तथा त्यस क्षेत्रमा विविध अनुसन्धान गराउन वैज्ञानिक तयार पार्ने सद्बुद्धि हामीलाई कहिले आउला ? किनकि अरू देशमा यिनै राता बाँदरमा गरिएको अनुसन्धानबाटै विभिन्न रोगका औषधि र खोप तयार पारिएका छन् । मानव जातिको उत्थानमा अन्य जनावरलाई प्रयोग गरिने प्रचलन सबैभन्दा हितकारी देखिएको छ ।
िि
िबाँदर प्रजातिमा मोटामोटी रूपले चार किसिमको सामाजिक संरचना पाइन्छ । (१) जोडा समूह– भालेपोथी र बच्चा (२) एक वयस्क भाले र थुप्रै वयस्क पोथीहरू तथा किशोर र बच्चाहरू (३) धेरै वयस्क भाले र धेरै वयस्क पोथीका साथ किशोर बच्चाहरू (४) भाले समूह– कहीँकहीँ कुनै बाँदर प्रजातिमा जवान भएपछि भालेहरूले आफ्नो समूह छोड्छन् र भाले मात्रको एउटा जोगी समूह बनाउँछन् । बलियो र वयस्क भएपछि यीमध्येका भालेहरू अन्य समूहमा मिसिने कोसिस गर्छन् ।
बाँदर समूहमा स्पष्ट प्रशासनिक तह पाइन्छ । सबभन्दा लडाकु भाले प्रथम श्रेणीमा पर्छ, अरू वयस्क भाले र पोथीहरू दोस्रो तहमा पर्छन् भने बूढा, कमजोर, रोगी, भर्खर ब्याएकी पोथी तथा स–साना बच्चाहरू सबैभन्दा तल्लो श्रेणीमा पर्छन् । सामान्यतया सगोत्री मातृ वंशबाटै समूह बनेको हुन्छ तर वयस्क भालेहरू प्रायः यौनसम्पर्कका लागि
आफ्नो समूह छाड्छन् । गोरिल्ला र बबुनहरूमा चाहिँ भालेहरूले पोथी ल्याउने अर्थात् पोथीहरू आउने भएकाले करिब मानिसको झैं परिवार बन्छ ।
िि
िसबै प्राइमेट प्रजातिमा मासिक धर्म हुन्छ । स्पाइडर नामक बाँदर १४–२१ दिनमा महिनावारी हुन्छ भने रातो बाँदर (मकाक समूह) २८–३१ दिन, लंगुर बाँदर ३० दिन, बबुन ३५ दिन, चिम्पाञ्जी ३५ दिन र मानिसहरू २८–३० दिनमा रजश्वला हुन्छन् । महिनावारी नियमित भए पनि विभिन्न कारण धेरै जातिमा निश्चित ऋतुमा मात्रै गर्भाधान हुन्छ । यसैले भाले लाग्ने समय र बच्चा पाउने समय निश्चित हुन्छ । यौनसम्पर्क प्रायः पछाडिबाट हुन्छ तर केही बाँदरहरूमा छातीछाती जोडेर चुम्बन गर्दै पनि हुन्छ । सम्पर्कअघि भालेले प्रायः आँखा जुधाउने, काउकुती लगाउने, चुम्बन गर्ने, यौनांगमा छुने, कन्याउने, जीउ सफा गरेर फकाउने, जुम्रा हेरिदिएर पोथीलाई उत्तेजित बनाउने कोसिस गर्छ । त्यस्तै बैंसले उन्मत्त बाँदर्नी बलिया वा मन परेका भालेका अघि उभ्भिएर इसारा गर्ने, यौनांग देखाएर समागमका लागि उक्साउने गर्छन् । गर्भधारण गर्ने अवधि पनि विकसित र ठूला जातिमा क्रमैसँग बढी हुन्छ । एसियाली र अफ्रिकी बाँदरहरूले १६८ दिनसम्म गर्भधारण गर्छन् भने गिब्बनले २१० दिन, चिम्पाञ्जीले २२८ दिन, गोरिल्लाले २५८ दिन, ओराङ्उताङले २६४ दिन र मानिसले २६६ दिनमा गर्भधारण गर्छन् ।
बाँदरहरू प्रायः राति बच्चा जन्माउँछन् । एक बेतमा एउटा बच्चा हुन्छ तर कहिलेकाहीँ जुम्ल्याहा बच्चा पनि पाइन्छ । नेपालमा यस लेखकले सन् २००५ तिर पशुपति र स्वयम्भू क्षेत्रमा बाँदरहरूको एकै बेतमा जुम्ल्याहा, तिम्ल्याहा र चम्ल्याहाको रेकर्डसमेत गरेको छ । यो संसारमै अनौठो घटना हो । २–३ वर्ष बाँदरको दूधे बालकको अवस्था हुन्छ भने ५–६ वर्षमा ऊ किशोर हुन्छ । त्यस्तै बाँदरको जम्मा आयु– लेमुरको १५ वर्ष, एसियाली बाँदरको २८ वर्ष, गिब्बनको ३५ वर्ष, ओराङ्उटाङको ३०–४० वर्ष, चिम्पाञ्जीको ४०–५० वर्ष र गोरिल्लाको ४०–५० वर्ष हुन्छ । खाना र वातावरणको राम्रो प्रभावमा बाँदर बढी बाँच्न पनि सक्छन् ।
िि
िअब बाँदरका आनीबानीको कुरा गरौं । बाँदर र मानिसको सम्बन्ध अनादिकालदेखि प्रगाढ छ । स्थानपिच्छे बाँदरसम्बन्धी थुप्रै कथा, टुक्का र उपमा छन् । हाम्रो जनजीवनमा बाँदर गाँसिनुको प्रमुख कारण उनीहरूको चाखलाग्दो हाम्रैजस्तै स्वभाव भएर हो । मानिसका बालबच्चा, केटाकेटी, किशोर–किशोरी, वयस्क, प्रौढ तथा विभिन्न उमेर समूहले जस्तो व्यवहार गर्छन्, नियालेर अध्ययन गरे बाँदरहरूले पनि त्यस्तै व्यवहार प्रदर्शन गरिरहेका हुन्छन् । वयस्क हुनुअघिसम्म बाँदरको दिनचर्या खानु–खेल्नुमै बित्छ । तिनीहरू ठूलाको सिको गरेर खाना खोज्छन् । चलाख बाँदरचाहिँ कुनै वस्तु खाने कि नखाने भनेर निकै बेर जाँच गर्छ । त्यसैलाई हामी चकचक गरेको भन्छौं । लखेटा–लखेटी, भेट्टाइ, कुस्ती तानातान, लुकामारी र तेलकासा, भुइँकासाजस्ता लाग्ने खेलहरू प्रायः बाँदरका बच्चाहरू खेलिरहन्छन् । किशोरकिशोरी बाँदर एकअर्कालाई तर्साउने, झुक्याउने, अचानक आक्रमण गर्ने तथा बलियो छु भनी हाँगा हल्लाई फुइँ गर्ने खेल पनि खेल्छन् । बच्चामा मिलेर खेल खेल्ने तिनै बाँदर–बाँदर्नीहरू उमेर बढ्दै गएपछि टाढा–टाढा हुँदै यौनसाथी खोज्न जान्छन् र आफन्तबाट टाढा हुन्छन् ।
समूहबाट एक्ल्याएर धूर्त किशोर बाँदर किशारी बाँदरसँग यौनसम्पर्क पनि गर्न सक्छ । किशोरीलाई प्रभावित पार्न ऊ उपद्र्याहा काम पनि गर्छ । त्यस्ता बाँदरका चपेटामा भर्खरका केटीमान्छे पर्न सक्छन् । पाटन दरबार स्क्वायरनजिक एउटा भाले बाँदरले महिलालाई मात्रै जिस्क्याउने गरेकाले केही वर्षअघि त्यस बाँदरलाई मारिएको थियो । त्यस्ता घटना मेलम्ची, थापाथली, कास्की, अर्घाखाँचीतिर भएको सुनिन्छ । त्यस्ता किशोर बाँदरले समूहका वयस्कबाट पिटाइ भेट्ने वा समूह निकालासमेत भोग्नुपरेको हुन्छ । दौंतरीसँग मिलेर डुल्ने, नयाँ ठाउँ पत्ता लगाउने, वयस्क र बूढाबूढीलाई हेप्ने वा खिसीटिउरी गर्ने पनि तिनीहरूको बानी हुन्छ । त्यसैले कहिलेकाहीं रिसाहा वयस्क भालेको टोकाइ र पिटाइ पनि किशोरहरूले खप्नुपर्छ । पिटाइबाट त्रसित भएर कैयौं किशोर बाँदर आफ्नो डफ्फा छोडेर एक्लै पनि हिँड्छन् । हामीले बेलाबखत एक्ले बाँदर देखेका हुन्छौं, तिनीहरू यस्तै हुन् । कहिलेकाहीं बिरक्तिएका वा समाजबाट गलहत्याइएका बाँदर मिलेर ‘जोगी’ समूह पनि बनाइएको पाइन्छ । किशोरी बाँदरहरू भने आमालाई सघाउने, भाइबहिनी हेरिदिने, बोकिदिने, खेलाइदिने, खाना खान पालो दिने गर्छन् । उनीहरू आमा, हजुरआमा, दिदी, भाइ, बहिनी, काकीहरूसँग चौपट्टै मिल्छन् र आफ्नै डफ्फामा जीवन बिताउँछन् ।
आफ्नो डफ्फाका सदस्य वा नातेदारमरेपछि बाँदरहरू शोक गर्छन् । नजिक गई जाँच–पडताल गर्छन् र सक्ने भए बोकी–बोकी हिँड्छन् । बिरामी पर्दा एकअर्कालाई माया गर्छन् । धेरैजसो अनुभवी र पाको बाँदरले खाना र बसोबासका लागि नयाँ ठाउँमा समूह लैजाने काम गर्छन्, सबैलाई मन परे त्यतै बस्छन् ।
बेलाबेला बाँदरहरू हाम्रा छेउछाउ त्यसैगरी आइपुगेका हुन् । आफ्नै डफ्फाभित्र झगडा पर्दा पाका बूढाबूढीले साम्य पार्ने कोसिस गर्छन् । जोरीपारीका डफ्फाहरूबीच मिलापत्र र खिचलो पार्ने काम प्रायः किशोर बाँदरले गर्छन् । डफ्फालाई संकट पर्‍यो र शत्रु आइलागे– भाले, पोथी, बच्चाहरूसमेत
लड्न जान्छन् ।
िि
िमानिससँग स्वभाव, बानी–व्यहोरा र शारीरिक प्रक्रियासमेत मिल्ने भएर बाँदरलाई औषधि–विज्ञानमा प्रशस्तै प्रयोग गरिन्छ । मानिसका लागि उत्पादन हुने औषधि बाँदरमा प्रयोग गरेर फापेपछि मात्रै मानिसको उपभोगका लागि बजारमा पठाइन्छन् । त्यसैले मानव समाजको व्यवहार, मनोविज्ञान, सामाजिक संरचना तथा औषधि विज्ञानका लागि अत्यधिक मात्रामा अनुसन्धानको पात्र बनेको बाँदर हामी मानिसको सबभन्दा प्रिय र नजिकको प्राणी हो । हाललाई बाँदरको बासस्थान व्यवस्थापन मुख्य कुरा हो । जंगलमै प्रशस्त खाना उपलब्ध भए र मानिसले बानी नबिगारिदिए बाँदरहरू ज्यान जोखिममा पारेर मानिसनजिक आई विभिन्न उपद्रो गर्दैनन् ।

(लेखकले सन् १९९५ मा ‘लंगुर बाँदरको खानामा लैंगिक भिन्नता’ विषयमा विद्यावारिधि गरेका छन् ।)

समाज

त्रिचन्द्र विनिर्माणका सपना

- अभि सुवेदी

 

भर्खरै सुनें अनि कहीं पढें, सरकार त्रिचन्द्र कलेज भत्काउन चाहन्छ । स्रोतका भाषिकाहरूले खोल्दै जानेछन् आधिकारिक कुरा । यत्तिले आफू कालिक चक्रवातभित्र पसेको अनुभव गरें । आफैंलाई सोधें, त्रिचन्द्र कलेजको भवन र त्यसका संरचना भत्काएर भूमि निकाल्ने सपना अहिलेको नेपालको भयावह चरित्रको सङ्केत त होइन ? विश्वासहरू हराउँदै गएको बेला जे पनि हुन सक्छ, जे पनि हुँदै छ भन्ने भावनाले बलियो गरी समात्नु स्वाभाविक हो । अर्को कुराले झस्कायो । अहिले फर्केर हेर्दा धन्न त्यो टरेर गयो । रानीपोखरी एउटा
कङ्क्रिट भूमि हुन लागेको थियो । त्यहाँ ‘सुपर’ कङ्क्रिट संरचनाहरू बनिने पक्का थियो । तर, नेवार नागरिक र अरूका संयुक्त विरोधले त्यो बाँच्यो । जनताहरू नगरपालिकाको नेतृत्व चुनेका छौं, अब हामी यस नागर परिवेशका अमूर्त र मूर्त सम्पदा बच्नेछन् भनेर ढुक्क छौं भनेर बसेका भए काम बितिसक्थ्यो । अहिले त्रिचन्द्र कलेजको विनिर्माणको कुराले झस्काउँदा मेरो काल्पनिकीमा अर्को बितेको आँधीको पेन्टिङ पनि उठिबस्छ । यो दरबार हाइस्कुललाई लिएर गरेको अङ्ग्रेजी चित्रकार टर्नरका प्रसिद्ध आँधीको पेन्टिङ सदृश कल्पना हो, यत्ति भनौँ । त्यसको निर्माणको परिकल्पनामा संलग्नहरूलाई धन्यवाद । सबै हो, भूमि प्रयोजनको
काल्पनिक चित्र । 
त्रिचन्द्रको घण्टाघर एउटा विस्मृत हुँदै गएको समयको ध्वनि झिनै भए पनि निकाल्दै छ । इलामको देउमाई साहित्य फेस्टिवलमा २३ चैत २०७५ मा मैले मोफसल र साहित्य शीर्षकको आफ्नो की–संकथन राख्दा त्रिचन्द कलेजलाई नै केन्द्र बनाएको थिएँ । वीरशमशेरले १९५१ सालतिर राखेको घण्टाघरलाई बिल्ला भिरेर उभिएको लाहुरेको उपमा दिएर कवि भूपि शेरचनले लेखेको कविताको उदाहरण लिएको थिएँ । उसको रानीपोखरीमा देखिने प्रतिविम्बको कुरा छ त्यो कवितामा । यो घण्टाघरको रेखदेख गर्ने, ‘भित्री र बाहिरी सुईलाई प्रेमले चलाउने, स्थानीय सीपले मर्मत गर्ने, अनि घडीलाई कर्र कर्र गरेर दम दिने, शान्त र सरल ती समयका गोठाला’ गणेश सापकोटाले ‘किञ्चित् विस्मयको स्वरमा ठोकुवा गरे उनी सेवानिवृत्त भएपछि यो घण्टाघरले पनि अवकाश लिनेछ ।’ 
त्यता हिँड्दै गएँ । चिनियाँहरूले अत्यन्त राम्रो काम गरिदिएका छन् । दरबार हाइस्कुलको त्यो रूप देखेर पुलकित भएँ । रानीपोखरीमा मानिसहरूको भीडभाड थियो । उतापट्टि एक जना मानिसलाई के हुँदै छ भनेर सोधें । उनले भने, सबै कुरा भैसक्यो, अव पानी भर्ने कुरामाथि छलफल हुँदै छ । झरीको पानी हार्वेस्ट गर्ने कुरा पनि उठेको छ । सबै कुरा सुनेपछि उतापटि त्रिचन्द्र कलेज परिसरमा गएँ, जसको विनिर्माणको कुरा सुनेर विचलित भएको अवस्थामा छु । जीवन प्राध्यापनमा बिताएको मजस्तो मानिसलाई मात्र होइन मभन्दा पहिलेका, पछिका र अहिलेसम्मका पुस्ताहरूलाई त्रिचन्द्र कलेज भनेको शिक्षा, इतिहास, राजनीति, एकतन्त्री शासनदेखि प्रजातन्त्रको स्थापनासम्मको एक इतिहासको रूपक हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, रुद्रराज पाण्डे, हृषिकेश शाह, कृष्णराज मानन्धर र अरू धेरै मानिसहरूको कथा शिक्षा र लगनशीलताको इतिहास हो । यस कलेजले मानविकी र समाजशास्त्र मात्र होइन विज्ञानको शिक्षा पनि आरम्भ गरेकाले एउटा विश्वविद्यालयको काम गर्‍यो । पटना विश्वविद्यालयसँग एफिलिएसन गरेर चलेको यो कलेज नेपालको विश्वविद्यालयको पर्याय नै थियो । आफ्नो छोटो अनुभव राख्छु । धरान कलेजबाट बीए पास गरेपछि मैले बीएको स्पेसल अंग्रेजीको एक विषय मात्र त्रिचन्द्र कलजेमा भर्ना भएर पढें । त्यो बेला यो कलेजलाई अन्तरङ्ग बुझ्ने र नजिक हुने अवसर पाएँ । नेपाली इतिहासमा प्रसिद्ध २००४ सालको पहिलो राणाकालमै भएको कवि गोष्ठी सम्पन्न भएको सरस्वती सदन मेरा निम्ति एक भावनाको थलो थियो र अहिले पनि छ । यसको माथि तलाको पुस्तकालयमा पुराना ग्रन्थहरूको संकलन राम्रो थियो । त्रिचन्द्र कलेजजस्ता संरचना प्लानिङको बुल्डोजरमा पर्ने कलेवर होइनन् । ती हेरिटेज भइसकेकाले अमूक समयका सरकारहरूको लहडमा भत्काउन मिल्दैन । 
दुई वर्षअघि यो कलेजका विद्यार्थी र शिक्षकको प्रयासमा कलेजले निकालेको शतवार्षिकी ग्रन्थमा मैले लेखेको लेखमा यस्तो निष्कर्ष निकालेको रहेछु, ‘दुईवटा भयानक भूकम्पका कथा जसरी तसरी बोकेर पनि खडा यो महान् संरचना, अझै पनि देशभरिका विद्यार्थीको आकर्षणको शैक्षिक केन्द्र, जति उपेक्षा र साधारणीकरण गरिए पनि नेपालमा उच्च शिक्षाको इतिहास बोकेर चलेको छ । यो कलेज एक मौन तर वाचाल, विशृङ्खल तर बलियो संरचना भएको एक म्युजियम सदृश संस्था हो । यसको स्थापना रुसमा बोल्सेभिकहरूले क्रान्ति गरेको वर्षतिरै भएको हो । यसको माथि लेखिएको स्थापना वर्षले भन्छ । यो इतिहास पुनरावृत्ति हुँदैन । ...त्रिचन्द्र कलेजको स्मारक भन्नु ...इतिहासको पुनर्व्याख्या हो, अनि यसको इतिहासबाट हामीले सिक्नुपर्ने मौन तर वाचाल आह्वान हो ।’
यो कलेजलाई रेट्रोफिटिङ गरेर, चिनियाँहरूले दरबार हाइस्कुल बनाएजस्तै गरी पुनर्निर्माण गर्नु सबैभन्दा ठूलो आवश्यकता हो । पुराना संरचनाहरू हेरिटेजको संरक्षण र प्रयोग पनि हुने किसिमले यथावत् राखेर विज्ञान भवन भएतिरको भूमि र घरहरूको ठाउँमा नेपाली वास्तुकलाजनिन शैलीका साना, ठूला आधुनिक भवनहरू बनाएर लैजाने योजना सबभन्दा सोच्नुपर्ने कुरा हो । त्यस्ता भवनहरूको प्रयोग शिक्षा, संस्कृति, विज्ञान र कलाको थलोको रूपमा गर्न सकिन्छ । त्रिचन्द्र कलेजका विषयगत भवन सहरका कुनै भागमा पनि बनाउन सकिन्छ । म पढेको एडिनवरा विश्वविद्यालय मूल प्राचीन आत्मा बक्लुप्लेस थलोमा राखेर सहरभित्र छरिएको छ । सुनें त्रिचन्द्रको मूल भवन नै ढालेर, अगाडिका संरचनाहरू भत्काउँदै पुरानो टुँडिखेलको खुला जमिन निकाल्ने योजना छ । यो सरासर गोहीको आँसु हो । टुँडिखेलको बनावटी चिन्ता हो । अहिले भूमि प्रयोगमा विश्वास गर्ने आधार भत्किँदै गरेको अवस्था हो । टुँडिखेल मासिएको कथा सूक्ष्म रूपले हेर्दा अधिनायकवादको कथा हो ।
खरीको बोट ऐतिहासिक मञ्च थियो भन्ने कुरा सबैलाई थाहा छ । यसैलाई अर्को रूप दिए राजा महेन्द्रले । खरीको बोट काटिदिए, अनि त्यो प्राकृतिक मञ्चको सट्टा आमलाई निषेधित मञ्चको रचना गरे जुन जनताको थिएन, सैनिकको थियो । विश्वविद्यायलका हाम्रा विद्यार्थी ‘हेटरोटोपिया’ भन्ने एउटा विषय अध्ययन र थेसिसमा प्रयोग गर्छन् । खरीको साझा मञ्चको काम सम्झाउने तर त्यसलाई सैनिक मञ्चको रूपमा अतिरिक्त रचना गर्ने काम गरेर राजा महेन्द्रले ‘हेटरोटोपिया’ को प्रयोग गरेका थिए । त्योबेला कवि बैरागी काइँलाले कविता लेखे, ‘गोली नभेट्टाएर गान्धीको छातीको/ खरीको बोट नभेट्टाएर टुँडिखेलमा/ काँटी नभेट्टाएर जेरुसेलमका गल्लीहरूमा/ फेरि भौंतारिन्छ आत्मरक्षामा/ यो तक्षक ।’ 
पुराना नागर संरचनाहरू आर्काइभ भैसकेका हुन्छन् । भत्काएर होइन तिनलाई आधार राखेर नगर विस्तार गर्नु आर्किटेक्चरको ‘इथिक्स’ र संरक्षणको आत्मा हो । आर्किटेक्टहरूसँग सल्लाह नलिने यो कुरामा ध्यान नपुर्‍याउने हो भने नेपाल मण्डलका नेवारनिर्मित र कति लिच्छविकालिक संरचनाहरू पनि बिस्तारै नामेट हुनेछन् । हामी कस्तो सहर र आरक्षणको कल्पना गर्दै छौं बुझिनसक्नु छ । टुँडिखेलका सहिदगेट वारिपारिका सैनिकजनिन ‘हेटरोटोपिक’ संरचना, भवन र खुम्चिएका मैदान, सभा हल सरकारले सबै हटाएर दशरथ रंगशालासम्म जोड्दा मात्र टुँडिखेलको खुला आकार निस्किन्छ । यसै पनि ती सबै संरचनाहरू बदल्न असम्भव छ । भत्काउन सकिने संरचना त त्रिचन्द्र कलेज र यसको परिसर मात्रै हो भन्ने धारणा नै गलत छ । कुनै कामको निम्ति मुख्य तारोको रूपमा यो भूमि देखिएको होला । यसमाथि बहस गर्ने हामी प्राज्ञिक वर्गको भनाइमा खासै दम हुन्छ भन्ने मानिदैन । विद्यार्थी र प्राज्ञिक धेरैजसो दलका सदस्य नै छन् । प्रतिपक्षी दलका नीतिहरू प्रस्ट छैनन् । त्यसैले यो विषय म निकै जटिल देख्छु । ‘पुस्तक भनेपछि खुसी नहुने सरकारले जमलको विश्वविद्यालयले प्रयोग गरिआएको गुठीको भूमिमा केको पुस्तकालय बनाउँछ भन्ने ठान्नुभएको छ ?’ मलाई एउटा विद्यार्थीले प्रश्न गरेका थिए । त्यो भूमिमा राष्ट्रिय पुस्तकालय बनाउने योजनाले म अत्यन्त खुसी भएँ । यत्रतत्र विस्थापित र पोकाहरूमा शरणार्थी भएर नष्ट हुँदै गरेका ग्रन्थ र हस्तलिखित सामग्रीहरूले अब ठाउँ पाउनेछन् भन्ने आशा पलायो । राणाकालमा पुस्तकालयहरू र किताब संकलन भव्य रूपमा हुने, तर प्रजातन्त्र र गणतन्त्रसम्मको यात्रामा ती सबै उपेक्षित हुने अनि योजनामा नपर्ने नेपालको विडम्बनायुक्त इतिहासको अब अन्त्य भयो भनेर सोचें । किताब पढ्ने संस्कृतिको लगभग अन्त्य हुनै लागेको बेला यसले ठूलो काम गर्नेछ भन्ने भावना लिएको हुँ । तर सुन्दै छु, त्यो जमिन पनि सरकारले रोकेको छ किनकि त्यसमा भूमिलोलुपहरू लागेका कुराहरू खुल्दै छन् । 
स्मार्ट सिटी बाहिर बनाउने भनेको प्राचीन संरचना संरक्षण गर्ने र सहरको चरित्र बनाउने हो, तर अहिले हाम्रो अभ्यास स्मार्ट सिटी पनि बनाउने, सांस्कृतिक भूमि र बस्तीहरू पनि नजोगाउने, भित्रका पुराना संरचना पनि विनाश गर्ने योजनाले निर्मित हुँदै गएको देखियो । त्रिचन्द्र कलेजको विनिर्माण होइन निर्माणको कुराले अहिले हामीलाई आवश्यक अरू दृष्टिहरू पनि खुल्नेछन् ।

 

Page 7
विविधा

वन–पाठशाला

- रोशन शेरचन

वनविज्ञान रूखको विज्ञान होइन, बरु मानिसकै विज्ञान हो । रूखकेन्द्रित विज्ञान हो भने, त्यो हदसम्म, जबसम्म रूखले मान्छेको आवश्यकतालाई सम्बोधन गर्छ ।
– ज्याक वेस्टोविज्, १९६७
लामपाते, चिलाउने र गोगनको घना जंगलमाझ रहेको वन–पाठशाला हेटौंडामा पढेको पनि चौंतीस वर्ष नाघेछ । सपना त मेरो पनि डाक्टर वा इन्जिनियर बन्ने थियो । तर, नाम निस्केन । अहिले सोच्दा सपना समयको हुँदो रहेछ । त्यसबखत समयले अधिकांशलाई डाक्टर वा इन्जिनियर बन्ने सपना भिराइदिएको थियो । विकल्पमा त्रिचन्द्र क्याम्पसमा भर्ना भएँ तर अधिकांश कक्षा भने भिडियो देखाइने मखन र गुच्चा टोलमा लिएँ । एक वर्ष त्यसै खेर गयो । वन पाठशालामा भर्ना भएपछि भने जीवन मोडियो ।
गुरुबाट वनविज्ञान रूखहरूको भन्दा मान्छेकै विज्ञान हो भन्ने सुन्दा, त्यो मथिंगल खलबल्याउने कुरा थियो । सोसल फरेस्ट्रीले जरा हाल्दै गर्दाको समय थियो । त्यसैको जगमा नेपालमा सामुदायिक वन विकासको खाका कोरियो । गुरुकुलजस्तै थियो, वन पाठशाला । जंगलबीच । कडा अनुशासन । छात्रावासको जीवन । वन पाठशालका केही आधारभूत सिद्धान्त (फन्डामेन्टल्स्) अझै सम्झन्छु ।
पहिलो, वन नवीकरणीय स्रोत हो । बुट्यान, वनजंगल, घाँसेमैदान पारिस्थितिक प्रणाली भएकाले पटके प्रयोग गर्न सकिन्छ । वन वा घाँसेमैदान त्यसैले, भण्डार स्रोत (स्टक रिसोर्स) र प्रवाह स्रोत (फ्लो रिसोर्स) दुवै हो । ढुङ्गा, स्लेट, पेट्रोलियम पदार्थझैं पुनरुत्पादन हुन वनले लाखौं, करोडौं वर्ष लिँदैन । प्रजातिअनुसार, वनवृक्षहरू मुनाबाट (कपिसिङ्) पनि उत्तिकै पलाउँछ । भलै केहीका उर्बर मुना हुन्छन्, केहीका कमसल । टुँडिखेल पूर्वतिरको लहरेपीपलहरू माथि नै काट्दा पनि, मुना हालेर पलाएको हामीले देखेका छौं । पोलार्डिङ भनिने यी प्रक्रिया अन्य केही प्रजातिमा पनि पाइन्छ । बीउबाट हुने पुनरुत्पादन त चल्तीकै विधि भैहाल्यो ।
दोस्रो, यो प्रयोजनपरक विज्ञान (एप्लाइड साइन्स) हो । वनसँग सम्बन्धित ज्ञानलाई व्यवहारमा कसरी उतार्ने भन्ने यसको ध्येय हुन्छ । कुन विज्ञान प्रयोजनपरक छैन ? प्रश्न गर्न सकिन्छ । तर, बहुसंख्यक जनसंख्या अझै कृषिमा निर्भर रहनु, पशुपालन कृषिको अभिन्न अंग हुनु र परम्परादेखि स्थानीय समुदाय र आदिवासी जनजातिहरू वनजंगलमै आश्रित रहनुले वनको प्रयोजन फराकिलो छ भन्ने बुझिन्छ । वन रूखहरूको झुन्ड मात्रै नभएर, नेपाली जीवनसंस्कृतिको अभिन्न अंग त्यसै भएको होइन । वनको समाजिक, सांस्कृतिक र आर्थिक ऐतिहासिकता हुन्छ । तेस्रो, वनहरूको पनि मान्छेको झैं घर (रेन्ज) हुन्छ । ती रेन्ज, धरातलीय स्वरूप, उचाइ, जलवायु, मोहडा, माटोलगायतका कारणले निर्धारण हुन्छन् । मुस्ताङको मान्छे संसारको हरेक देशमा भेटिन सक्छ तर तराईको खयर, सिसौ कञ्चनजंगाको घुन्सामा कसै गरी भेटिन्न ।
वन–पाठशाला रमाइलो थियो । त्यसका केही निश्चित विशेषता थिए । एक, अध्ययन भ्रमण । दोस्रो, बिहानको पीटी र साँझको खेलकुद । वनको आनीबानी चिनाउन प्रशस्त शैक्षिक भ्रमण हुन्थ्यो । हाल मार्केट गोष्ठी र सेमिनारको छ तर दिगो सिकाइका निम्ति भ्रमण जति प्रभावकारी अरू छैन । दामनको पहिलो भ्रमण धेरै सम्झन्छु— एउटै डाँडाको दक्षिणी मोहडामा छपक्क खोटेसल्ला, उत्तरी मोहडामा गोब्रेसल्ला, सदनमा सांसद बसेजस्तो कित्ताकाटै गरेर, अचम्म ! धरातलीय स्वरूप, जलवायु उही भएर पनि मोहडाको कारणले त्यसो भएको, बताइएको थियो । दक्षिणी मोहडामा घाम प्रशस्तै पर्ने, उत्तरमा नपर्ने ! त्यसैले कालान्तरमा खोटेसल्ला घाम रुचाउने प्रजातिमा (लाइट डिमान्डर) उद्भव हुँदै गयो, गोब्रेसल्ला सियाल सहने (सेड टलरेन्त) । वनवृक्षहरू यसै ठिङ्ग उभिएका बेरोजगार युवाजस्ता लाग्छन् । तर, हरेक वृक्ष त्यस पर्यावरणको सबभन्दा योग्य जैविक अभिव्यक्ति रहेछन् भन्ने थाहा भयो ।
दामनको जंगलमा रूखको नाप–जाँचबारे सिक्यौं– रूखको गोलाइ, उचाइ र आयतन निकाल्ने तरिका । भिरालोमा त्यो जटिल कार्य थियो । स्कुलमा ट्रिगनोमेट्रिमा पढेको ‘हाइट एन्ड डिस्टेन्स’ को व्यावहारिक प्रयोग बल्ल पत्तो पाएँ । समथरमा नाप–जाँच गर्न भने लगत्तै पर्सा राष्ट्रिय निकुञ्जमा लगिएको थियो । विसं २०४२ को कुरो, चारकोसे झाडी निकै बाक्लो थियो । आधाभारस्थित निकुञ्जकै भौतिक संरचना अस्थायी प्रकृतिको थियो । वनभित्रै टेन्टमा हाम्रो बस्ने प्रबन्ध गरिएको थियो । निकुञ्जको कर्मचारीले केही दिनअघि मात्रै नजिकै जंगली हात्ती देखिएको बतायो । डरले हामी धेरैको निद्रा लागेन । टेन्टको पहिलो अनुभव थियो त्यो ।
त्यस्तै अर्को भ्रमणमा काँडेदार तारबार गर्न फेवा जलाधारको सिरान तारेभीर पुग्यौं । जयप्रसाद यादव सरले हामीलाई हौस्याउँदै उकालो चढाए । पोल र काँडेतार केही दिनअघि नै साइटमा झारिसकिएको थियो । त्यसपछि प्वाकल खन्ने, रोलबाट तार निकाल्ने र बोराको झुम्रोले तारलाई तन्काएर पोलमा युनेल ठोक्ने धन्दा सुरु भैहाल्यो । यादव सरले विद्यार्थीहरूलाई केही हुन्छ कि भनेर फस्ट एड किटमा औषधि, डेटोल र ब्यान्डेज पनि बोकेका थिए । लखतरान फर्केका थियौँ, बासस्थान पामे नर्सरीमा । चेकड्याम बनाउन धम्पुस–फेदी आसपास ढुंगाका चट्टान पनि बोक्यौं । अहिले पनि मुस्ताङ जाँदा त्यस स्थानमा आइपुग्दा त्यो स्मृति दोहोरिन्छ । चेनसले रूखहरू ढाल्ने अभ्यास गर्न सागरनाथको वनमा तँछाडमछाड गर्‍यौं । वन डढेलो नियन्त्रण अर्को अभ्यास थियो । ३४ वर्षपछि, कक्षाका लेक्चररहरू जति बल गरे पनि सम्झिइँदैन, शैक्षिक भ्रमणका अनुभव सम्झन केही गर्नै पर्दैन । अहिले त निजी वन क्याम्पसहरू आएका छन् । के सरकारी वा निजी वन क्याम्पसमा प्रयोगात्मक अभ्यासमा त्यति नै जोड दिइन्छ ? के वन संकाय मानविकीजस्तो त भएको छैन ? प्रश्न उब्जन्छ ।
वनक्षेत्र वृद्धिका कारण वन अनुसन्धान तथा सर्भेक्षण विभागको ‘स्टेट अफ नेपाल्स फरेस्ट्स्’ (डिसेम्बर २०१५) अनुसार, वनले ५९ लाख ६२ हजार हेक्टर भूभाग ओगटेको छ, जुन नेपालको कुल क्षेत्रफलको लगभग ४०.३६ प्रतिशत हुन आउँछ । कुल वन क्षेत्रफलको ३७.८० प्रतिशत मध्यपहाडमा, ३२.२५ प्रतिशत उच्चपहाडी तथा उच्चहिमाली क्षेत्रमा, २३.०४ प्रतिशत चुरेमा र ६.९० प्रतिशत तराईमा अवस्थित छ । सन् १९७८/७९ को एलआरएमपी र सन् १९९४ को राष्ट्रिय वन सर्वेक्षणको तुलनामा वनक्षेत्र बढेको देखिन्छ । पूर्वाधार निर्माणले वनक्षेत्र नासिँदा, पुनर्वास कार्यक्रम र वन अतिक्रमणका बाबजुद वनक्षेत्र बढ्नु सकारात्मक पक्ष हो । वन निकाय, स्थानीय समुदाय, उपभोक्ता समूह र संरक्षणमा काम गर्ने निकायहरूको सामूहिक प्रयासले यो सम्भव भएको हो । नर्सरी स्थापना, वृक्षरोपण, बिरुवा संरक्षण, पुनरुत्पादन प्रणाली, वनगस्ती, वन अतिक्रमण हटाउने, वन डढेलो रोकथाम, उपभोक्ता समूह, निजी वनपालक वा साझेदारहरूलाई वन व्यवस्थापनमा क्षमता अभिवृद्धि, सचेतनामूलक अभियानलगायतका गतिविधि यसमा पर्छन् ।
तर, थोरै गहिरिने हो भने, दुई बाह्य कारण यसमा जिम्मेवार छन् ।
पहिलो, वैकल्पिक ऊर्जाको बढ्दो प्रयोग । सडकको बढ्दो सञ्जालले दाउरालाई ठूलो हदमा एलपी ग्यासले विस्थापित गरेको छ । ग्यास दाउराभन्दा सस्तो छ । दाउरा खोज्न लाग्ने समय, दैनिक ज्यालादारीलाई दिने, ज्यालाले खाद्यान्नको जोहो गर्ने र ग्यास किन्ने घरधुरी बढेको छ । भलै सडक सञ्जालले नछोएका उच्च हिमाली क्षेत्र, चुरे र महाभारत शृंखलाका कुनाकाप्चामा ग्यास पुग्न बाँकी छ । तराई र मध्यपहाडी क्षेत्रमा बायोग्यास र बिजुलीकै प्रयोगकर्ता पनि बढेका छन् । तर, विगतमा त्यस्तो थिएन । म गृहजिल्ला मुस्ताङ सम्झन्छु ।
टुक्चेभन्दा उत्तरका मार्फा, जोमसोम, कागवेनी, रानीपौवा, मुक्तिनाथमा दाउराको ठूलो दुःख थियो । अझै छ । कारण जंगल कोसौं टाढा छ । बन्जर भूमि र काँडेदार बुट्यानहरूको बाहुल्य छ । चर्को अभाव भएकाले मार्फा, जोमसोममा दाउरा भण्डारण गर्ने चलन थियो । चलन लामो समय बाँचे परम्परा बन्ने रहेछ । हरेकको छतमा गच्छेअनुसारको मुढा वा दाउराको चाङ देखिन्थ्यो । कतिका चिरुवा त बाउ–बाजेकै पालाकाजस्ता लाग्थे– काला, निख्खुर ढाडे, समयको लेउ लागेका । दाउराका चाङ हेरेरै को कति धनी छ थाहा पाउन सकिन्छ भन्ने गाइँगुइँ पनि चल्थ्यो । खच्चड वा झोप्पामा बोकाएर टाढाको जंगलबाट काठ ओसार्न जो–कोहिले सक्दैनथे । तर, बाटो खुलेपछि चाङ लगाउने परम्परामाथि गाडी गुडेको छ । घर–घरमा ग्यास भित्रिएको छ । खच्चड, झोप्पा बेरोजगार भई बसाइँ सरेका छन् । सयौं वर्षसम्म घण्टी हल्लाउँदै हिँड्ने स्वच्छन्द खच्चडका कारभानहरू अब देखिँदैन । चरा नउड्ने आकाशझैं अब त कालीगण्डकी पनि रित्तो छ ।
दोस्रो, रोजगारका निम्ति प्रबासिने कारणले गाउँ रित्तो हँॅदै जाँदा खेतबारी बाँझो हुनु र त्यो स्थान क्रमशः जंगलमा बदलिनु । वन विज्ञानमा यौटा सिद्धान्त छ ः इकलजिकल सक्सेसन । त्यसमा बताइन्छ, समयक्रममा प्रकृतिमा वनस्पतिहरू कसरी आउँछन् र बदलिन्छन् ! प्रकृतिलाई (यहाँ भूमि भनौँ) त्यसै छाडिदिए, पहिला पायनियर वनस्पतिहरू आउँछन्, त्यसले माइक्रो क्लाइमेट निर्माण गर्छ, माटोको गुण परिवर्तन गर्छ र दोस्रो तहको वनस्पतिका निम्त उपयुक्त वातावरण बनाउँछ । समयको अन्तरालमा, दोस्रो तहको वनस्पतिलाई पनि विस्थापित गर्दै अन्त्यमा क्लाइमेक्स वृक्षहरू देखापर्छन् । तत्तत् प्राकृतिक वातावरणमा त्यो अन्तिम र स्थिर तहको वृक्ष हुन् । यो विकासक्रम पारिस्थितिक प्रणालीअनुसार भिन्न हुन्छ । जस्तै, तराई–मधेसको खोला किनारको वनमा (रिभराइन फरेस्ट) प्रारम्भमा कांस, झौवा आउँछ । बिस्तारै लामो समय लिँदै त्यसलाई सिन्दुरे, खयर, सिसौर अन्त्यमा सिमल र सालले विस्थापित गर्छ ।
वनको बहुउपयोग र व्यवस्थापन चुनौती वैकल्पिक ऊर्जाको बढ्दो प्रयोग, सडक सञ्जालमा वृद्धि, तीव्र सहरीकरण, मानव–वन्यजन्तुको द्वन्द्व र वैदेशिक रोजगार आदि कारणले पछिल्लो समयमा वनको प्रयोगमा परिवर्तन देखिएको छ । वनप्रतिको प्रत्यक्ष निर्भरता घट्दो छ । घाँस, दाउरा, स्याउला, पतकर, जडीबुटी र फर्निचरका निम्ति काठ निकाल्ने अलावा वन पैदावार ननिकालेरै प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । वनपैदावार ननिकालीकन गरिने प्रयोग (ननकन्जम्टिभ युस) निकुञ्ज, सामुदायिक वन, पर्यापर्यटन, सिमसार, कार्बन व्यापार र सहरी वनमा विशेष देख्न सकिन्छ । रूख नकाटीकन, नमासीकन, सौन्दर्यको महत्त्व (एमेनिटी भ्यालु) लिने बढ्दै छन् । त्यस्तै जैविक विविधता मूलतः संरक्षित क्षेत्र र वन संरक्षण क्षेत्रमा (अघिको संरक्षण वन) केन्द्रित छ । काठमाडौंको एक मात्र सहरी वन रानीबारी सामुदायिक वन हो । प्रातःकालमा योगा गर्ने, ध्यान गर्ने, मर्निङ वाकमा यो वन लोकप्रिय छ । बढ्दो जनघनत्व, ध्वनि तथा वायु प्रदूषण र खुला स्थानको अभावले गाँज्दै गरेको सहरी क्षेत्रमा वनको वेलनेस भ्यालु महत्त्वपूर्ण बन्दै छ ।
वन क्षेत्रको एक मुख्य चुनौती, राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा यसको न्यून योगदान हो । एफएओको रेपोर्टअनुसार, १९९०–२००० मा वनको योगदान वार्षिक ४.४ प्रतिशत
रह्यो । त्यस्तै सन् २००८ मा प्रकाशित वन अनुसान्धान तथा सर्वेक्षण विभागको तथ्याङ्कमा, ९.२३ प्रतिशत देखिन्छ ।
वन नवीकरणीय स्रोत भएकाले उचित व्यवस्थापन भए, काट्दैमा त्यो मासिँदैन । बरु कुन उद्देश्यका निम्ति त्यो काटिँदै छ त्यसमा प्रस्ट हुनुपर्छ । वनको प्रतक्ष्य फाइदा लिन सरोकारवालाबप्च मिहिन छलफल आवश्यक छ । देशभित्रै काठको अत्यधिक माग हुँदाहुँदै व्यवस्थापनको कमजोरीले विदेशबाट काठ आयात गर्नॅपरेको विसंगत स्थिति छ । वन अर्थशास्त्री डा. राजेश राई र विशाल भारद्वाजको अध्ययनअनुसार, नेपालका उत्पादनशील वन क्षेत्रले वार्षिक रूपमा कम्तीमा ३५ करोड घनफिट काठ उत्पादन गर्ने क्षमता राख्छ । तर, आर्थिक वर्ष ०७४/७५ मा कुल क्षमताको पाँच प्रतिशत अर्थात् एक करोड ७५ लाख घनफिट काठ मात्र उत्पादन भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा २.१३ अर्बको आयात चार वर्षभित्र तीन गुणाले बढेर साढे ६ अर्ब पुग्यो । स्वदेशी काठको माग धान्न र कुल गार्हस्थ्य उत्पादनमा थप टेवा दिन सरकारी वन, साझेदारी वन र चुनिएका सामुदायिक वनमा काठ उत्पादनका निम्ति सघन वन व्यवस्थापन गर्नु जरुरी छ । साथै तराई–मधेसको वनमा ठूलो परिमाणमा रूखहरू कुहिएर, धोद्रो भएर बसेको छ । विशाल परिमाणका यी रूखको स्थान प्राकृतिक पुनरुत्पादन वा वृक्षरोपणबाट भरिलो बनाउन आवश्यक छ । ती वनक्षेत्र जैविक मार्ग हो भने फेरि त्यहीअनुसार व्यवस्थापन गर्नुपर्छ ।
माग र आपूर्तिबीचको दूरी कम गर्न नसक्नुका पछाडि सायद प्राविधिकभन्दा राजनीतिक कारण बढी छ । वनक्षेत्रमा राजनीतिक इच्छाशक्तिको अभाव खट्किँदो छ । वन विज्ञानमा लामो अवधिको सोच आवश्यक पर्छ । नेतृत्व तहमा त्यसअनुसारको योजना र धैर्य न्यून देखिन्छ । नेतृत्व तहमा मात्रै होइन, अधिकांश वन प्राविधिकहरू पनि वार्षिक क्यालेन्डरको अल्पकालीन दृष्टिकोणबाट निर्देशित हुँदै गएजस्तो लाग्छ ।
टिम्बरको बढी उत्पादन गर्नॅ, माग र आपूर्तिको दूरी कम गर्नु, बाहिरिने पैसा जोगाउनु, वनमा आधारित रोजगार सृजना गर्नु र राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा थप टेवा दिनु प्रमुख उद्देश्य भए पनि वनको प्रत्यक्ष योगदान मात्र हेर्नु एकांगी हुन्छ । वनका अप्रत्यक्ष फाइदाहरू अनेकन छन् । यद्यपि अप्रत्यक्ष फाइदाको मापन गर्नु कठिन छ । सन् १९९५ मा जैविक विविधता प्रोफाइल परियोजनाका अनुसार, देशभर सूचीकृत ११८ इकोसिस्टममध्ये ११२ वटा वन इकोसिस्टम छन् । यी इकोसिस्टमले दिने वातावणीय सेवाको समग्र मूल्याङ्कन हुन बाँकी छ । केही प्रयास नभएका होइनन् । सन् २००५ मा वन तथा वातावरण मन्त्रालयले गरेको वातावरणीय सेवाको आर्थिक मूल्याङ्कन एक हो । सन् २००८ मा वन अनुसन्धान तथा सर्वेक्षण विभागले कुल गार्हस्थ्य उत्पादनमा वन क्षेत्रको योगदान निकाल्न अध्ययन गरेको थियो, जसमा प्रतक्ष्य (युस भ्यालु) र अप्रतक्ष्य (नन युस भ्यालु) महत्त्व दुवै समेटिएको थियो । तर, यस विधिलाई परिमार्जित गर्दै थप विज्ञानसम्मत (रोबस्ट) बनाउन सकिएको छैन । न यो सघन छलफलकै विषय बनेको छ । सन् २०१३ मा भारतमा अर्थशास्त्री पार्था दास गुप्ताको नेतृत्वमा हरित राष्ट्रिय लेखापालन (ग्रिन नेसनल एकाउन्ट्स) विशद् पद्धति विकसित गरिएको थियो । वातावरणीय सेवा सुविधाको समग्र लेखाजोखा नभएसम्म वनको समष्टिगत योगदान यकिन गर्न असम्भव छ । पर्यटनमा मात्र वनको योगदान यकिन गर्न सकिए, कुल गार्हस्थ्य उत्पादनमा वनक्षेत्रको योगदान थपिने थियो । कारण पर्यापर्यटन र साहसिक पर्यटन मूलतः प्रकृतिमै केन्द्रित छ । न्यून योगदानलाई देखाएरै अर्थ मन्त्रालयले पर्याप्त बजेट नपारेको वनकर्मीबीच बारम्बार चर्चा चलिरहन्छ ।
वन विभागको २०१७–१८ को तथ्याङ्कअनुसार, करिब २२ लाख ३७ हजार हेक्टर सामुदायिक वनले ओगटेका छन् । सामुदायिक वनको संख्या २२,२६६ छ । प्रत्येक पालिकालाई सरदर ३,००० हेक्टर वन पर्न आउँछ । वनको क्षेत्रफल बढाउन, उपभोक्तालाई वन पैदावारमा पहुँच पुर्‍याउन, महिला र विपन्न वर्गको सशक्तिकरणका निम्ति सामुदायिक वन सफल छ । द्वन्द्वकालमा अन्य स्थानीय संस्था निष्क्रियप्रायः रहँदा, पिँधसम्म फिँजिएकाले, सामुदायिक वन उपभोक्ता समूहहरू निर्बाध चलिरह्यो । तर, यसका कमजोरी पनि छन् । कतिपय सन्दर्भमा पारदर्शिता र सुशासन कर्मकाण्डजस्ता भएका छन् । उपभोक्ताप्रति उत्तरदायित्व भावनाको कमीले व्यक्तिगत आर्थिक फाइदा लिने काममा लागेका कैयन् उदाहरण छन् । वनविज्ञानको प्राविधिक पाटाहरू नसिक्ने, लागू नगर्ने (वा नाम मात्रको गर्ने) र स्रोतको तथ्याङ्कबारे जानकारी नराख्ने समूह बग्रेल्ती छन् ।
अर्को चुनौती, क्षेत्र अवधारणा (जोनिङ एप्रोच) लागू गर्नु हो । यो अवधारणा लागू नभएको होइन तर जोड पुगेको छैन । न त यसमा पर्याप्त छलफल नै भएको छ ।
वन र समृद्धि वनक्षेत्रको ठूलो चुनौती देशकै समृद्धिसँग सम्बन्धित छ । कारण ठूला विकास वा पूर्वाधार निर्माण वनक्षेत्रमै भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रोपावर, ट्रान्समिसन लाइन र सडक राजमार्ग आवश्यकता र अवसर जति हो, वनक्षेत्रका निम्ति उतिकै चुनौती हो । ‘राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्नेसम्बन्धी मापदण्डसहितको कार्यविधि, २०७६’ अनुसार, सम्बन्धित मन्त्रालयले योजनाको सम्भाव्यता अध्ययन गर्दा सम्भव भएसम्म राष्ट्रिय वनक्षेत्र नपर्ने गरी सम्भाव्यता र विकल्पहरूको अध्ययन गर्नुपर्नेछ, लेखिए तापनि यथार्थ विपरीत छ । प्रदेश राजधानी वनमै राख्ने योजना बन्छ । भूमिहीन तथा सुकुम्बासीको पुनर्वास वनमै गरिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति वनक्षेत्र नै छानिन्छ । प्रसारण लाइन वनक्षेत्रबाटै तानिन्छ । रूख बोल्दैन, त्यसैले धमाधम काटिँदै छ । लाग्छ, मान्छेले वनलाई जहिल्यै प्रतिवादी बनाएको छ । त्यति मात्र होइन, सरकारी कार्यालय भवन निर्माण, सुरक्षा निकायका निम्ति जग्गा तथा आवास, सञ्चार पूर्वाधारका निम्ति पनि वनक्षेत्र प्रयोग भएको
तथ्याङ्कले देखाउँछ । पछिल्ला वर्षमा ग्रामीण सडकको नाममा पर्यावरणीय क्षति चुलिएको छ । सम्भाव्यता अध्ययन नगरी अन्धाधुन्ध खनिएका बाटाहरू, डोजरको चरम प्रयोग, त्यसले निम्त्याउने पहिरो, पानीको मुहान सुक्ने र नदीको बहाव परिवर्तनजस्ता अत्यन्त दुःखद घटना भएका छन् ।
पूर्वाधार निर्माणलाई आवश्यक ढुंगा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको उत्खनन र ओसारपसार व्यवस्थित गर्न नसक्दा जलाधार क्षेत्र प्रभावित बनेको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव
मूल्याङ्कन (ईआईए) नगरी पूर्वाधारको काम थालिनु चिन्ताको विषय छ । दोषीलाई कारबाही गर्ने कुरामा नेतृत्व चुकेको छ । वन र वातावरण सेक्टर सायदै यति निरीह यसअघि भएको थियो । प्राविधिक ज्ञान र अनुभव (जे जति छ) वन निकायमा छ, पूर्वाधार विकासको अथाह बजेट र कार्यक्रम प्रदेश र स्थानीय सरकारमा । अपवाद छाडी समन्वय र सहकार्य प्रभावकारी छैन ।
समयमै मान्छेले नचेत्ने हो भने त्रासद समय झन् नजिकिनेछ । देशले भर्खर भोगेको बाढी–पहिरो र डुबानले वस्तुतः मान्छेकै स्वार्थको कथा भन्छ । हजारौं डोजरले चिथोरेका पर्यावरण, मृत्युशय्यामा अन्तिम सास लिइरहेका खोलाहरू र मिचाहा झारले गाँज्दै लगेको घाँसे मैदानले दुःखकै गीत गाइरहेका छन् ।

विविधा

अक्षरमा देखिएको कर्णाली

- मोहन मैनाली

 

आराध्य चन्द्रमामा मानिसले टेके भन्ने खबर फैलिएका बेला भूगोलविद् ब्यारी सी. बिसप साविकको कर्णाली अञ्चलमा थिए । त्यहाँका मानिसले उनलाई यस बारेमा सोधेछन् । ब्यारीले भनेको एउटा कुरामा उनीहरूले खास चासो राखेछन्— जुम्लाका मानिसले ४५० पटक जति काठमाडौँ ओहोरदोहोर गर्न र पृथ्वीबाट चन्द्रमा पुग्न उति नै दूरी पार गर्नुपर्छ ।
त्यो घटना भएदेखि ‘कर्णाली अन्डर स्ट्रेस’ छापिउन्जेलका बीचमा (२१ वर्षमा) कर्णालीका मेरा साहसी साथीहरूले चन्द्रमा जाने बाटोको आधा दूरी हिँडिसके होलान्, ब्यारीले लेखेका छन् ।
कर्णालीका सबै जिल्लालाई मोटरबाटोले छुन ब्यारीले सो कुरा लेखेपछि पनि ३० वर्ष कुर्नुपर्‍यो । त्यसको अर्थ हो— ब्यारीले भेटेयताका ५०/५१ वर्षमा उनका कर्णालीका ती वीर साथीहरू पहाडका उकाला–ओराला हिँड्नुका सट्टा चन्द्रमातिर एकोहोरो हिँडेका भए पैदलै त्यहाँ पुगिसक्थे ⁄ यसले कर्णालीको भौगोलिक विकटता देखाएको छ ।
ब्यारीकै अक्षरमा कुँदिएको अर्को चित्रले के भन्छ भने कर्णालीका उत्तर र दक्षिण दुवैतिर हिमाल छन् । तर, यो मुस्ताङ र मनाङजस्तो पानी असाध्यै कम पर्ने, हरियाली हुँदै नभएको वा कम भएको ठाउँ भने होइन ।
हिउँ कर्णालीका धेरै भागमा वर्षा गराउने प्रमुख माध्यम हो । मुगुमा वार्षिक वर्षाको २९ प्रतिशत हिउँका रूपमा पर्छ । ब्यारीको यस चित्रलाई हुम्लाका त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर बस्नेतले ‘हुम्ला संगम २०४६’ मा अझ स्पष्ट पारेका छन्, २०४२ सालमा हुम्लामा पटकपटक गरी १२ फिट जति हिमपात भएको अनुमान गरिन्छ । यसले गर्दा सिमिकोटमा ४२ दिनसम्म हवाइजहाज जान सकेन ।
नेपालका अरू सबै जिल्लामा मोटर गुड्ने सडक पुगिसक्दा पनि हुम्लामा पुगेको थिएन । २०४२ सालको त कुरै अर्को भयो । यो सम्झँदा लाग्छ, कोरोना आउनु धेरैअघि कर्णालीले लकडाउन भोग्नुपरेको रहेछ ।
सामाजिक व्यवहार (अरू ठाउँमा जस्तै) कर्णालीमा कठोर बने । २००७ साल र त्यसपछि भएका परिवर्तनसँग जुध्न स्थानीय स्तरमा यस्ता कदम चालिए, जसले समाजलाई झन् क्षति पुर्‍यायो । यसअघि स्थानीय स्तरमा हैकम चलाएकाहरूले यो परिवर्तनले गर्दा आफ्नो शक्ति गुमेको महसुस गरे । ब्यारीका अनुसार, उनीहरूले आफ्ना गुमेका वा गुमेजस्तो लागेका राजनीतिक, आर्थिक र सामाजिक विशेषाधिकार कायम राख्न तथा निमुखामाथि शासन गर्न जातीय भेद्भावको प्रचलन अझ कट्टरताका साथ लागू गरे । यसको मार त्यति बेला ‘अछुत’ भनिने दलितमाथि पर्‍यो ।
२००७ सालपछि दलितहरूले जग्गाको स्वामित्व पाए । तर, यसको ३८ वर्षपछिसम्म पनि त्यहाँका दलितहरूले सार्वजनिक जमिनमा घाँस काट्न पाएनन् । यस्तो जमिन वरपरका ‘अछुत’ बाहेकका घरपरिवारलाई भाग मात्र लगाइन्थ्यो । हुम्लाका तत्कालीन न्यायाधीश विशाल खनालले कर्मचारी मिलन केन्द्रको वार्षिक प्रकाशन ‘हुम्ला संगम २०४५’ मा लेखेका छन्, ‘अछुत’ हरूलाई घाँसपात चाहिएमा उनीहरूले आफ्ना मुखियालाई रिझाइ मुखियाको भागबाट लिनुपर्छ । उनीहरू उपल्ला भनिने जातसरह सुविधा लिन अक्षम मानिन्छन् ।
ब्यारीले देखेको कर्णालीका धेरै भागमा हलोमा फलामको सट्टा काठको फाली राख्ने चलन थियो । काठको फाली भाँचिइरहन्थ्यो । एक दिनमा एक जना हलीले ६ वटासम्म फाली फेर्नुपरेको थियो । ब्यारीले कर्णालीका कृषि उपकरणलाई पाँच हजार वर्षअघिका ग्रीस र मध्यपूर्वका उपकरणसँग मिल्दाजुल्दा भनेका छन् ।
२०४२ सालमा राजा वीरेन्द्रले २०५७ सालसम्ममा सबै नेपालीको आधारभूत आवश्यकता पूरा गराउने आज्ञा दिए । हुम्लाका प्रशासकीय अधिकृत लोकप्रसाद आचार्यले सो आज्ञा पालना गर्न हुम्लामा गर्नुपर्ने कामको खाका कोरेर ‘हुम्ला संगम २०४५’ मा छपाएका थिए । त्यसमा एउटा कार्यक्रम थियो— २०५७ सालसम्ममा किसानलाई फलामको फाली आपूर्ति गर्नुपर्ने ।
फलामको सट्टा काठको फाली लगाएको कुरै मलाई अनौठो लागेको थियो, फलामको फाली पुर्‍याउने सरकारी कार्यक्रम देख्दा त महाअनौठो लाग्यो । मलाई यसअघि के लागेको थियो भने, सबै नेपाली किसानले आफ्नो हलोमा काठको फाली हाल्छन् र त्यो यति सानो काम हो, जसका लागि सरकार गुहार्नु पर्दैन ।
यसले रन्थन्याएका बेला हुम्लाको विकासमा लागेका, जिल्ला विकास समितिका सभापति भइसकेका जीवनबहादुर शाहीसँग भेट भएथ्यो । उनले मलाई भनेका थिए, फलामको फाली भएको हलोले जोत्दा काठको फाली भएको हलोले जोत्दाभन्दा बढी उब्जने कुरा हुम्लामा गरिएको परीक्षणले देखाएको छ । केही ठाउँमा त फाली पुगेको छ तर सबै ठाउँमा पुगेको छैन ।
फलामको फाली किन नचलाएको भनेर कर्णालीका धेरै जनालाई सोधेको थिएँ । टाढाबाट बोकेर ल्याउँदा महँगो पर्ने हुनाले फलामको फाली नचलाएको भनेका थिए उनीहरूले । कर्णालीमा एक प्रतिशतभन्दा अलि धेरै जमिनमा मात्र खेती गरिएको, खेती विस्तार गर्ने जग्गा उति नभएको भनी ब्यारीले लेखेको सम्झिएँ । यति थोरै ठाउँमा जोत्न कति पो फाली चाहिँदो हो र ? तर, जीवनले पनि यसै भने । यस कुरामा चित्त बुझेको छैन, तर चित्तबुझ्दो जवाफ नपाउँदासम्म यसैले काम चलाउनुपरेको छ ।
अहिलेको कर्णाली ब्यारीले अध्ययन गरेको कर्णालीभन्दा धेरै ठूलो छ । कर्णाली प्रदेश सरकारले आफ्ना योजना बनाउँदा भनेको छ रे— अरूले हिँडे पुग्छ, कर्णालीले दौडनुपरेको छ (खासमा सम्पूर्ण नेपालले नै दौडनुपरेको छ) ।
तर, दौडन थाल्नुअघि ब्यारीले भनेका कुरा ख्याल गर्नु उपयोगी होला । उनले भनेका छन्, पछि परेको क्षेत्रलाई आधुनिक र विकसित बनाउन असल नियतले गरिएका कामले पहिल्यै कमजोर भइसकेको जीवनशैलीलाई थप दुर्बल बनाउन सक्छन् । कर्णाली यस्तो ठाउँ हो जहाँ केन्द्रले एउटा लक्ष्य लिएर गरेका प्रयासको परिणाम अर्कै आउँछ । राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा विदेशी मुद्रा भित्र्याउन स्थापना गरिएको रारा राष्ट्रिय निकुञ्जले उल्टो परिणाम दिएको कुरा पनि उनले औँल्याएका छन् ।
नेपालमा खाद्यान्नमा ढुवानी अनुदान दिने चलन ब्यारीले अध्ययन गर्नुभन्दा पछि सुरु भएको हो । केन्द्र सरकारले असल नियतका साथ देशभर गरेको यो कामको परिणाम पनि कर्णालीमा उल्टो निस्किएको छ । यो अनुदान झन्डै झन्डै कुलत बन्न पुगेको छ ।

Page 8
सामयिक

“जनजाति महिला महिलावादी हुनुपर्दैन !”

- कैलाश राई

पितृसत्तात्मक हिन्दु मूल्य–मान्यता वर्चस्वशाली रहेको नेपाली समाजमा जनजाति समुदायका महिला लैंगिक समानताको उपभोग गर्दै आइरहेको एक सामाजिक समूह हो । किनभने विश्वभरकै आदिवासी–जनजाति महिलाले पितृसत्तात्मक राज्य संरचना र शासकीय ढाँचाअनुरूप स्थापित मूलप्रवाहका महिलाको तुलनामा स्वायत्त जीवनयापन गर्दै आइरहेका छन् । नेपालकै सन्दर्भ हेरौं, यहाँका आदिवासी–जनजाति महिलासँग पनि आफ्नो यौनिकता, शरीरमाथिको अधिकार र नियन्त्रण केही हदसम्म कायम छ । विवाह गर्ने वा नगर्ने, जीवनसाथी रोज्ने, जीवनसाथीसँग कुरा नमिले सम्बन्धविच्छेद गर्ने, पुनर्विवाह गर्ने विषयमा उनीहरू आत्मनिर्णयको अधिकार राख्छन् । सामाजिक, सांस्कृतिक तवरमा निजी तथा सार्वजनिक जीवन सहजताका साथ जिउन उनीहरू स्वतन्त्र छन् । उनीहरूलाई पेवा–पात राख्न, औपचारिक तथा अनौपचारिक क्षेत्रमा श्रम एवं पेसा–व्यवसाय गर्न, रोजगार गर्न बन्देज छैन ।
यस्तै जीवनशैलीका कारण अरू महिलाका दाँजोमा जनजाति महिला स्वतन्त्र र सशक्त छन् भनेर मान्ने गरिएको छ । केहीकेहीले मातृसत्तात्मक इतिहास बोकेको समुदाय भएको दाबीसमेत गर्ने गरेका छन् । नेपालका आदिवासी जनजातिहरूको हकमा भने त्यस्तो मातृसत्ताको इतिहास दाबी गर्ने आधार पुष्टि भएको छैन । यद्यपि आदिवासी जनजाति समुदायले महिलाहरूलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र प्रजनन एवं शरीरमाथिको अधिकारबाट वञ्चित गर्ने गरेको इतिहास छैन । यस्तै लैंगिक समानताका सकारात्मक अभ्यास उनीहरूको मौलिक पहिचानको आधार पनि हो ।
यही वास्तविकतामा टेक्दै कतिपयले हल्काफुल्का त कतिपयले गम्भीर रूपमै (कू) तर्क गर्ने गरेका छन्– ‘आदिवासी जनजाति समुदायले महिलावादी हुनै पर्दैन ! समुदायका महिलाहरू पनि महिलावादी हुन आवश्यक छैन ! जुन समुदायका महिलाहरूले पहिलेदेखि सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिकलगायतका अधिकार उपभोग गर्दै आइरहेका छन्, त्यहाँ महिलावादी अवधारणा र अभ्यासको खाँचो छैन !’ यस्तो सोच आफैंमा समस्याग्रस्त छ अनि अधकल्चो र हास्यास्पद पनि । नेपालका आदिवासी जनजाति समुदाय र जनजातीय संघसंस्था, समुदायका महिलामा महिलावादी दृष्टिकोण र लैंगिकताको अवधारणाले धेरै महत्त्व नपाउनु, यस्ता विषयवस्तुमाथि कम मन्थन र बहस हुनुको एउटा कारण यस्तै सोच हावी हुनु पनि हो ।
महत्त्वपूर्ण कुरा, नेपालको आदिवासी जनजाति समुदायले मूलप्रवाहले अपनाएकै महिलावादी अवधारणा अपनाउनु उपयुक्त छ वा छैन भन्ने छलफल हो । अर्को कुरा, मूलप्रवाहले अभ्यास गर्दै गरेको महिलावादको प्रकृति, चरित्र, खाका र दृष्टिकोणसाग उनीहरू के कति समभाव राख्छन् वा राख्दैनन् र किन ? यो प्रश्न महत्त्वपूर्ण छ । साम्प्रदायिक वृत्तभित्र अभ्यासमा रहेका तर राज्य र बृहत् समाजले त्यसलाई संरक्षण र अनुसरण गर्नुको साटो सकारात्मक र नकारात्मक दुवै तरिकाले अतिरञ्जित गर्दै आएको छ । त्यस्तो अवस्थामा उक्त समुदाय र समुदायका महिलाका लागि महिलावादी अवधारणा नै आवश्यक छैन भन्नुको अर्थ राज्य र मूलप्रवाहले जनजाति समुदायका महिला र उनीहरूका मुद्दालाई गम्भीर रुपमा नलिए पनि हुन्छ भन्न खोजिएको पनि हो । अर्कोचाहिँ, सामाजिक न्याय र समतामूलक समाज निर्माण कार्यमा जनजाति समुदाय समयसापेक्ष लैंगिक शक्ति सम्बन्ध र अभ्यासमा अक्षम ठहरिँदै जाने पनि हुन सक्छ ।
महिलावाद निश्चित एक समुदाय, समूह, वर्ग, नस्ल, यौनिकताका महिलाले सोही समूह वा समुदायका पुरुषसरह अधिकार उपभोग गर्न पाउनुमा मात्रै सीमित छैन । यो कुनै सीमित समूहका महिलाको हकअधिकार स्थापनाका निम्ति मात्रै बनाइएको संकीर्ण सिद्धान्त होइन, जुन कुनै जीवनशैली वा बनीबनाउ पहिचान वा स्थापित भूमिकामा मात्रै अपनाउन सकिने अवधारणा होइन । यो प्रत्येक राज्य सञ्चालनका हरेक अंगदेखि समाज, परिवार र व्यक्तिव्यक्तिबीचको शक्ति सम्बन्धसम्मका हरेक आयामसँग पनि उत्तिकै सम्बन्धित छ ।
पश्चिमा सामाजिक, सांस्कृतिक र राजनीतिक धरातलबाट सुरु भएको महिलावादको स्वरूप र शाखाहरू धेरै फैलिइसकेको छ । सोहीअनुरूप महिलावादका आयाम र सन्दर्भहरू फराकिला हुँदै गइरहेका छन् । नेपालको सन्दर्भमा महिला अधिकार, महिलावाद र लैंगिकता एउटै कुरा हो भन्ने अल्प बुझाइ अद्यापि छ । यी तीनवटै तर्क सबैका लागि उही अर्थ, उही स्तर र अवस्थामा प्रयोग हुने गर्छ वा गर्न सकिन्छ भन्ने सोच र व्यवहारको अन्त्य पनि भइसकेको छैन । महिलासँग गाँसिएका अधिकार, सशक्तीकरण, समानता र वादको अर्थ, उपादेयता र व्याख्या विश्लेषण एकैनासले गर्ने गरिएको छ । त्यस्तो परिपाटीले नेपालका महिलाबीच मूलप्रवाह र किनाराकृतको कित्ता काट्न ठूलो भूमिका खेलेको छ । जनजाति महिलाले सामाजिक आन्दोलनमार्फत आफ्ना सवाल र सरोकारका विषयलाई सतहमा ल्याइरहेका छन् । तैपनि उनीहरूबारे निजी तथा सार्वजनिक वृत्तहरूमा बृहत् संवाद र अन्तर्क्रिया गर्ने गरिएको छैन । नेपालका सबै महिलाका हकमा त्यस्तो निश्चित ढाँचामा संरक्षित सोच, संवाद र अन्तर्क्रियामा जनजाति महिलाहरू अटाउँदैनन् । उनीहरूका मुख्य सवाल र सरोकारका विषयहरू असान्दर्भिक ठहर्‍याइए । उनीहरू जातीय र लिंगीय आधारमा सधैं सीमान्तमा पारिए । मूलप्रवाहको महिलावादी अवधारणाभित्र आफू र आफ्नो समुदाय नपरेपछि उनीहरूले त्यसको अपनत्व ग्रहण गर्ने कसरी ?
उनीहरूले पचासको दशकदेखि सुषुप्त ढंगले निरन्तर यही कुरा उठाइरहेका छन् । नेपालको महिला आन्दोलनले हिन्दु मान्यतामा आधारित पितृसत्ताबाट मुक्ति पाउनमा आफ्नो अधिक स्रोत, साधन र शक्ति केन्द्रित गर्दै आएको छ । त्यस्तो खालको महिलावादी अवधारणा र सोच जनजाति महिलाका निमित्त मात्रै नभएर विविध पृष्ठभूमिका सीमान्त महिलाका लागि पनि खासै उपयोगी होइन । उनीहरूले उपभोग गर्ने गरेको स्वायत्तता, स्वतन्त्रता नेपाली समाजको संरचनाका कारण निश्चित साम्प्रदायिक घेराभन्दा बाहिर निस्कनासाथ औचित्यहीन हुन पुग्छ ।
जनजाति महिलाका निमित्त महिलावादको अर्थ र उपादेयता मूलप्रवाहले अपनाएको महिलावादभन्दा केही भिन्न छ । हिन्दु मूल्यमान्यताअनुरूपको पितृसत्ताका कारण आफ्नो मौलिक प्रथा, परम्परा, भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप र पुर्ख्यौली थातथलोबाट जनजाति महिला विमुख हुनुपरेको छ । त्यसैले उनीहरूका निम्ति पितृसत्ता र पुरुष वर्चस्व मात्रै समस्या होइन । पितृसत्ताको अन्त्य र पुरुषसरह अधिकार पाउने कुरा उत्तिकै महत्त्वपूर्ण हुँदाहुँदै पनि ती सहायक पक्ष हुन् । उनीहरूका निमित्त एक पृथक् मौलिक पहिचान, प्रथाजनित कानुन र ज्ञानको आधिकारितासहितको सामूहिक पहिचानको स्थापना पहिलो सर्त हो । जल, जंगल, जमिन र पुर्ख्यौली थातथलोको हक, नियन्त्रण र निर्बाध उपभोग प्राथमिक कुरा हो । उनीहरूले आफ्नो जनजातीय र लिंगीय पहिचान स्थापनालाई केन्द्रीय मुद्दा बनाएर ‘जनजाति–महिला’ को पहिचानमाथि जोड दिएका हुन्, जुन महिलावादीभन्दा बढी आदिवासीवादमा आधारित छ । त्यसले उनीहरूको लैंगिक सवाललाई सम्बोधन गर्न सक्दैन । अर्कोतिर मूलप्रवाहले अपनाएको महिलावादले उनीहरूको जनजातीय पहिचानलाई समेट्न सक्दैन । तसर्थ प्रतिरोधका यी कदमलाई प्रभावशाली बनाएर लैजानका लागि जनजाति महिला आन्दोलनले आदिवासीवाद र महिलावादको संयोजित स्वरूप अपनाउनु उपयुक्त देखिन्छ, जसलाई आदिवासी महिलावाद भन्ने गरिएको छ ।
दोस्रो जनआन्दोलनसँगै उनीहरूले समय सान्दर्भिक सवाल र सरोकारको रूपान्तरण गरे । बृहत् सामाजिक र राजनीतिक परिदृश्यमा आफ्नो सदृश्यता र सक्रियता बढाए । उनीहरू सांगठनिक तवरमै आफ्नो पहिचान र हक अधिकारका निमित्त एकजुट भएर लागिपरेका छन् । उनीहरूको सरोकारका प्रमुख तीन आयाम छ । एक, राज्य र समाजमा आफ्नो पहिचान र सहअस्तित्व कायम गर्नु, गराउनुमा उनीहरू जोडबल गरिरहेका छन्, जसअन्तर्गत उनीहरूले राज्यको हरेक अंग र निकायमा समानुपातिक प्रतिनिधित्व, समावेशी र अर्थपूर्ण सहभागितालाई अघि सार्ने गरेका छन् । महिला–महिलाभित्रैको असमानता र विभेदित अवस्थालाई झिनो स्वरमा भए पनि औंल्याइरहेका छन् ।
दुई, उनीहरूले शोषण, दमन र विभेदविरुद्ध प्रतिकार नगरी अधिकार स्थापित नहुने तथ्यलाई स्विकारेर छन् । गएको एक दशकदेखि अभ्यासमा ल्याइएको समानुपातिक समावेशिताको खाकाभित्र अंकगणितीय आँकडामा मात्रै सीमित नरहने कसरतमा छन् । त्यसकै लागि नेपालका समग्र महिलाका हकअधिकार प्राप्तिको लडाइँमा पहिचान र सवालसहित संलग्न हुने प्रयत्न गरिरहेका छन् । फरक महिला पहिचानलाई पनि मूलप्रवाहीकरण गर्ने धुनमा छन् । महिलाबीचमा घट्दो एकीकरण, बढ्दो ध्रुवीकरण, गुट–उपगुटको अवस्था मौलाउन सघाउने एक समूह भएको आरोप पनि खेप्दै आइरहेका छन् ।
तीन, उनीहरूले जनजाति आन्दोलनलाई लैंगिकताको आयामबाट पनि अघि बढाउनैपर्ने कुरातर्फ ध्यान दिन थालेका छन् । साम्प्रदायिक वृत्तभित्रै पनि जनजाति महिलाको रूपमा उनीहरूले उपभोग र अभ्यास गर्दै आएको अधिकार कटौती हुँदै गइरहेका छन् । समुदायभित्रको लैंगिक शक्ति सम्बन्ध असन्तुलित मात्रै होइन, महिलामाथि अन्याय हुनेसम्मको अवस्था सिर्जना भइसकेको छ । प्रभुत्वशाली संस्कृति र मान्यताहरूको प्रभाव र अतिक्रमण रोक्न अक्षम हुँदै गइरहेको स्वीकार गर्ने जनजाति समुदायले लैंगिक समानतामूलक सामूहिक पहिचानमा भने बढ्तै दाबी र गौरव गर्ने गरेको छ । जनजातीय पहिचान र सवाल प्राप्तिका लागि एकजुट हुनैपर्ने पक्षमा महिलाहरू स्पष्ट छन् । किनकि नेपालका आदिवासी जनजाति समुदायका पुरुषहरूले पनि राज्य व्यवस्थाबाट शोषित र दमित छौं भन्ने कुरा गहिरोसँग बुझेका छन् । तैपनि समुदायमा रहेको पितृसत्ता र पुरुष प्रभुत्वको विरोधसमेत गर्दै आइरहेका छन् । तापनि उनीहरूले आदिवासी महिलावादको स्पष्ट सैद्धान्तिक अवधारणा र खाका पहिल्याउन भने सकेका छैनन् ।

सामयिक

पुस्तकको आतंक

‘भ्यू–टावरलाई नै पैसा पुग्या छैन, पुस्तकालय जस्तो सेतो हात्ती कसले पालोस् ?’
- शरच्चन्द्र वस्ती

बिहान सपरिवार चिया खाइरहेको वेला मन्त्रीको मोबाइल बज्यो । त्यसमा पिलिक्क चम्केको नाम देख्नासाथ मन्त्रीपुत्र प्रफुल्लित भयो, ‘ड्याडी, अंकलको फोन !
मुखमा हाल्न लागेको पाउरोटी बीचैमा रोकेर मन्त्रीले फोन उठायो । उताबाट एउटा बिचौलिया भन्दैथियो, ‘बर्बाद हुन लाग्यो हजूर !’
‘के भयो र ?’
‘त्यो अस्ति मैले हजूरलाई देखाएको जग्गा छ नि, त्यसमा पुस्तकालय बनाउन लागेका छन् । हाम्रो योजना डुब्ला जस्तो भो ।’
‘कहाँ त्यस्तो हुन्छ ? म मिलाइहाल्छु नि ।’
‘कहाँ हजूर, दुई–चार दिनमै जग खन्न थाल्ने भन्दैछन् । त्योभन्दा पहिले नै रोक्नुपर्ने भो । नत्र बित्यास पर्छ,’ बिचौलियाले भन्यो, ‘हजूर अहिले १० बजे मकहाँ सवारी होस् न । अरूलाई पनि बोलाउँछु । सबै कुरा यहीं गरौंला ।’
‘ठीक छ,’ मन्त्रीले फोन टुंग्यायो । छोराले दबाव दियो, ‘अंकलको काम हुनुपर्छ है ड्याडी, मैले कुरा गरिसक्या छु ।’
मन्त्री बिचौलियाकहाँ पुग्दा दुई ठेकेदार पहिलेदेखि नै हाजिर थिए । एउटाले भन्यो, ‘शहरको मुटुमा भएको त्यस्तो जग्गा पुस्तकालयको नाउँमा खेर फाल्न त भएन नि हजूर ।’
अर्काले थप्यो, ‘हामी त्यहाँ शानदार मल बनाउँछौं । अन्डरग्राउन्ड डिस्को राख्छौं । शहरको शान बढ्छ । हजूरलाई पनि फाइदा हुन्छ ।’
‘...बाबुले मलमा दुइटा शटर चाहिन्छ भन्नुभा छ,’ मन्त्रीपुत्रको नाम लिंदै बिचौलियाले गाँठी कुरा गर्‍यो, ‘त्यो उहाँको जेठानका नाउँमा हुन्छ । हजूरको नाउँ कहीं आउँदैन ।’
‘भोलि क्याबिनेट छ । म मिलाइहाल्छु,’ मन्त्रीले विश्वास दिलायो ।
‘एउटा अर्को कुरा हजूर,’ बिचौलियाले नयाँ प्रस्ताव अघि सार्‍यो, ‘त्यो जग्गासँगै जोडिएको क्याम्पस हाता झन् ठूलो छ । क्याम्पसलाई पनि त्यहाँबाट हटाउन पाए त दुवै जग्गा मिलाएर देशकै सबैभन्दा ठूलो र भव्य मल बनाउन सकिन्थ्यो ।’
‘हो नि । शहरका बीचमा थोत्रो क्याम्पस राखेर के काम ? मखमलको पोशाकमा भाङ्ग्राले टालेजस्तो,’ एउटा ठेकेदारले ङिच्च गर्‍यो ।
‘प्रोजेक्ट जति ठूलो, फाइदा उति ठूलो,’ अर्काले लोभ्यायो ।
मन्त्रीले घुटुक्क थूक निल्यो, ‘पहिले पुस्तकालयको झमेला टुंग्याइहालौं । त्यसपछि क्याम्पसलाई पनि लेखेटौंला नि ।’
त्यहीं ‘लन्च’ गरेर मन्त्रालय पुगेपछि मन्त्रीलाई लाग्यो, ‘यस्ता कुरामा कसरी अघि बढ्ने भनेर एकचोटि साथीभाइसँग गफ गर्नुपर्‍यो । उसले शिक्षा क्षेत्र हेर्ने पार्टीका दुई विज्ञ र हित्तचित्त मिल्ने एक जना मन्त्रीलाई बेलुका आफ्नो घरमा निम्त्यायो ।
‘कुरा स्पष्ट छ, पुस्तकालय बनाउनु हाम्रो नीतिमा पर्दैन,’ तरल पदार्थको रमरम शुरू भएपछि एउटा विज्ञ जोशियो, ‘पुस्तक हाम्रा लागि सबैभन्दा ठूला समस्या हुन् । तिनले दिमाग बन्द गर्छन् । हाम्रा विरोधी जन्माउँछन् । जसले पुस्तक पढ्छन्, तिनले हामीले भनेको मान्दैनन् । हामीसँग प्रश्न गर्न थाल्छन् । त्यस्ता पुस्तक थुपार्ने ठाउँ हामीलाई किन चाहियो ?’
‘यो नैतिक दृष्टिले पनि नमिल्ने कुरा हो । हिजो बुर्जुवा शिक्षा बहिष्कार भनेर कार्यकर्तालाई पढ्न दिएनौं । बुर्जुवा पुस्तकको काम छैन भनेर पुस्तक च्यात्न र पुस्तकालय जलाउन लगायौं । पुस्तकहरू हुर्हुर बल्दा खुशीले चिच्याउँदै, नाच्दै, गाउँदै आगो वरिपरि घुमेको दृश्य अहिले पनि झलझली आँखासामु आइरहन्छ,’ अर्काले भन्यो, ‘अब हामीले नै पुस्तकालय बनाउन थाल्यौं भने हामी भन्दा सिद्धान्तहीन को होला ?’
‘पुस्तकालय जस्तो अनुत्पादक कुरामा पैसा खेर फाल्न मिल्दैन । जग्गा देऊ, घर बनाइदेऊ, फर्निचर ल्याइदेऊ, वर्षैपिच्छे किताब किनिदेऊ, महीनैपिच्छे कर्मचारीलाई तलब देऊ । एक सुका आम्दानी हुने होइन, खर्च चाहिं कति हो कति,’ आमन्त्रित मन्त्रीले व्यावहारिक प्रश्न उठायो, ‘भ्यू–टावरलाई नै पैसा पुग्या छैन, पुस्तकालय जस्तो सेतो हात्ती कसले पालोस् ?’
‘पुस्तकालय नचाहिने कुरामा त सबै पार्टी हाम्रै लाइनमा छन् नि । त्यही भएर ३० वर्ष यता कसैले कहीं एउटा पनि पुस्तकालय बनाएको छैन,’ घरभेटी मन्त्रीको टिप्पणी थियो ।
गिलास एकपल्ट रित्तिएर फेरि भरिएको थियो । ‘पढेर के हुन्छ यार ?’, एक जना हात हल्लाउँदै आफ्नै बयान गर्न थाल्यो, ‘मेरो कक्षामा म सधैं फेल हुन्थें । गुरुले जबर्जस्ती कक्षा चढाइदिंदा पनि पाँच कक्षा भन्दा माथि पुग्न सकिनँ । तर आज डाक्टर, इन्जिनीयर, पीएच्डीहरू मेरो चाकरीमा आउँछन् । सरुवा–बढुवा मिलाइदिनुपर्‍यो भनेर ब्रीफकेश बुझाउँछन् ।’
अर्काले आफ्नो पुरुषार्थ सुनायो, ‘मेरो छोरो पढ्न भनेपछि मरिहत्ते गर्थ्यो । घरमा होस् अथवा बाहिर, पुस्तक भेट्यो कि पढिहाल्ने । ठूलो भएपछि दुःख पाउला भनेर आफूलाई कत्रो चिन्ता । अनेक उपाय लगाएर, टुनामुना समेत गरेर बल्लतल्ल पढाइको लत छुटाएँ र राजनीतिमा ल्याएँ । १० वर्षमै अर्बपति भइसक्या छ र अहिले प्रदेश सांसद छ । नपढेर के भो र ?’
‘ठीक भन्नुभो, पढेका भए तपाईं–हामी यो ठाउँमा कसरी आइपुग्थ्यौं ?’, तेस्रो चम्कियो, ‘पढ्नतिर लाग्या भए हाम्रा नेता कहाँ हुन्थे, भन्नोस् त ? हद्द भए आफ्नै गाउँको स्कूलमा सिर्कनो हातमा लिएर क–ख–ग–घ सिकाइराख्या हुृन्थे होला । कि होइन ?’
चौथाले मुखमुद्रा गम्भीर देखाउने प्रयास गर्‍यो, ‘यो मन्त्री, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति जस्ता पदमा क्याम्पस नपुगेका मान्छे नै बढी सुहाउँछन् कि क्या हो ?’
‘त्यही भएर हाम्रो भविष्य उज्ज्वल छ, के बुझ्नुभो ?’ एउटाले भन्यो र हाँसोको लहर उठ्यो । उसले थप्यो, ‘यो हाँस्ने कुरा होइन । अब प्लस–टुसम्म हरेक कक्षामा नपढीकन ठूलो मान्छे भएकाहरूको मात्र जीवनी पढाउनुपर्छ । त्यसो भएपछि पढ्नुपर्छ भन्ने मान्यता स्वतः कम हुँदै जान्छ । मान्छेले पढ्नै छोडेपछि पुस्तकको आतंक पनि घट्दै जान्छ ।’
‘पाठ्यपुस्तक र पार्टीले सिफारिश गरेका किताब बाहेक अरू पुस्तकको कामै छैन । तर के गर्नॅ, सोझै यस्तो नीति ल्याउन मिल्दैन’, अर्को चुकचुकायो ।
एक छिन सबै मौन भए । तेस्रोपल्ट गिलास भरिएपछि घरभेटी मन्त्रीले अर्को कुरा कोट्यायो, ‘मलाई त पुराना क्याम्पसहरू पनि झम्पाट लाग्न थाल्या छन् ।’
‘शिक्षा भनेको उच्च नाफामूलक व्यवसाय बन्नुपर्छ । त्यसैले वर्षको १०–१२ लाख रुपैयाँ लिने क्याम्पसहरू मात्र शहरभित्र राख्ने हो । तिनका विद्यार्थीले हामीसँग प्रश्न पनि गर्दैनन्,’ एउटा विज्ञले नीतिगत मार्गदर्शन गर्‍यो, ‘जाबो तीन–चार हजार लिएर वर्षभरि पढाइराख्ने दुखिया सरकारी क्याम्पसको अब काम छैन । बिस्तारै तिनलाई शहरबाहिर पठाउनोस् । हाम्रो टाउको दुखाउने पनि तिनकै विद्यार्थीले हो ।’
‘विद्यार्थी नेता त्यहीं हुन्छन्, आन्दोलन गर्ने हुन् कि ?’
‘तिनलाई अलिकति मह चटाइदिनुहोला, कुरै खत्तम । क्याम्पस शहरबाहिर लैजाँदा उत्पात राम्रो हुन्छ भनेर तिनैले भाषण गर्न थाल्नेछन् ।’
‘अहा, कति राम्रो उपाय !’ मन्त्री गद्गद भयो ।
दोस्रो विज्ञ कुराको चुरोतिर लाग्यो, ‘हेर्नोस्, मुख्य समस्या भनेको पुस्तक हो । त्यसले मान्छेका भावना जगाउँछ र उसलाई कमजोर बनाउँछ । देश बनाउन कमजोर होइन, बलियो र अनुशासित मान्छे चाहिन्छ । यस्तो मान्छे जसमा भावना नहोस्, जसले नसोचोस्, प्रश्न नगरोस् र नेताले भनेका कुरा आँखा चिम्लेर पालन गरोस् ।’
दुवै मन्त्रीका आँखा निर्निमेष उसको अनुहारमा गाडिएका थिए । ऊ भन्दैगयो, ‘त्यसका लागि उसलाई पुस्तकबाट टाढा राख्नुपर्छ । पुस्तकालय बन्द गरेर हुन्छ कि, क्याम्पस हटाएर हुन्छ कि, भन्सार बढाएर हुन्छ कि, प्रकाशकलाई तर्साएर हुन्छ कि हामीले यो काम गर्नैपर्छ । त्यतिले पुगेन भने जीप, कारमा जस्तै पुस्तकमा पनि वार्षिक ‘पठन–कर’ लगाउनुपर्छ । नत्र समाजवाद कसरी आउँछ ?’
छलफल टुंग्याउन सबैको गिलास फेरि एकपल्ट भरियो ।
भोलिपल्ट मन्त्रिपरिषदको बैठकले निर्णय गर्‍यो : क. अनुत्पादक क्षेत्रमा लगानी नगर्ने नीति अन्तर्गत पुस्तकालय बनाउने योजना अनिश्चित कालका लागि स्थगित गर्ने । ख. पुस्तकालयका लागि छुट्याइएको जग्गा व्यापारिक केन्द्र बनाउन २०० वर्षका लागि लीजमा दिने । ग. सो जग्गासँगै जोडिएको क्याम्पसलाई एक वर्षभित्र नगरबाहिर शान्त ठाउँमा स्थानान्तरण गर्ने ।
बैठक सकेर बाहिर निस्कनासाथ मन्त्रीसँग हात मिलाउँदै बिचौलियाले खुशी जाहेर गर्‍यो, ‘बधाई छ मन्त्रीज्यू, आज गज्जब राम्रो निर्णय भयो ।’
मन्त्री मुस्कुरायो, ‘दुई–तिहाई अलिक पुगेन । नत्र राम्रा निर्णय कति गरिन्थ्यो कति !’

Page 9
अर्थ वाणिज्य

लघुवित्तको ऋणले थलिए गाउँ

कर्जाको किस्ता तिर्न नसक्दा पारिवारिक विखण्डन देखिन थालेको छ
- डम्बरसिं राई
आफूहरूले गरेको बचत फिर्ता नगरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेका बचतकर्ता । तस्बिर : डम्बरसिं/कान्तिपुर

‘लकडाउन सकियो, लघुवित्तका साहुहरू घरमै आउन सुरु गरेका छन्,’ दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माकी मनकुमारी राईले भनिन्, ‘लघुवित्तको ऋण तिर्न नसक्दा गाउँभरि कोकोहोलो भएको छ ।’
स्थानीय पदम दाहालले भैंसीपालन व्यवसायका लागि लिएको ६० हजार रुपैयाँ ऋणको किस्ता बुझाउन नसक्दा भैंसी नै उठाइएको सोल्माकी अञ्जना राईले बताइन् । बेलामा किस्ता र साँवा बुझाउन नसक्दा छिमेकी लघुवित्तले भैंसी नै उठाएको हो । त्यति मात्र होइन, बेलामा किस्ता नबुझाउँदा टेलिभिजन, काँसका बटुका, थालदेखि अन्य जिन्सी सामानसमेत उठाइएको राईको आरोप छ । ‘गाउँमा घरैपिच्छे लघुवित्तको ऋण छ,’ राईले भनिन् ।
छिमेक लघुवित्त वित्तीय संस्थाका प्रबन्धक किशोरप्रसाद चौधरीले भने लघुवित्तले सरसामान उठाएको नभई आफैंले बेचेर ऋण चुक्ता गरेको बताए । ‘हामीले भैंसी उठाएका होइनौं,’ चौधरीले भने, ‘उनी आफैंले बेचेर ऋण चुक्ता गरेका हुन् । योबाहेक मलाई केही थाहा छैन ।’ गाउँमा नौवटा लघुवित्तले ऋण लगानी गरेका छन् । ती संस्थाले सामूहिक जमानीमा १८ प्रतिशतसम्मले ऋण लगानी र बचत भने ६ प्रतिशतमा गरेको दिक्तेल–रूपापाकोट–मझुवागढी नगरपालिका–२ का वडाध्यक्ष हर्कबहादुर खत्रीले जानकारी दिए । हरेक घरमा धेरैजसो लघुवित्तबाट ऋण लिएकाले बैठक र भेलामै महिलाको दिन जाने गरेको उनले सुनाए ।
सामूहिक जमानीमा ऋण लगानी गर्ने भएकाले उठाउने बेला आफू–आफूमा झगडा हुने हुँदा सामाजिक विखण्डनसम्मको समस्या आएको खत्रीको भनाइ छ । ‘विभिन्न लघुवित्तले गाउँभरि ऋण लगानी गरेका छन्,’ उनले भने, ‘एउटाबाट लिएको ऋण तिर्न अर्को लघुवित्तमा ऋण लियो, फेरि त्यसलाई तिर्न अर्कोबाट लियो, यसो गर्दागर्दै गाउँका महिला हैरान भएका छन् ।’
लघुवित्तले कृषि, पशुपालन, व्यापार व्यवसाय, उद्योगलगायत विभिन्न शीर्षकमा ऋण दिने गरेका छन् । अनुगमन नगरी ऋण प्रवाह गर्ने भएकाले जोखिम बढेको हो । ऋण दिएर पनि अनुगमन नगर्दा झन् समस्या आएको स्थानीय सप्तमणि राईले बताए । प्रायः युवा विदेशमा रहेको र तिनका परिवारले ऋण लिएकाले बेलामा तिर्न नसक्दा पारिवारिक विखण्डनसमेत देखिएको उनको भनाइ छ । ‘श्रीमान् विदेशमा रहेका बेला श्रीमतीले लिएको ऋणको निहुँमा भएको झगडाले पारिवारमा विखण्डन आएको छ,’ राईले भने, ‘लगानीकर्ताले पैसा मात्र हेर्ने होइन, उसको पारिवारिक अवस्था पनि हेरेर लगानी गर्नुपर्‍यो ।’
जिल्लामा सञ्चालित लघुवित्तहरूले बचतकर्तालाई ठगी गरेको गुनासासमेत आएका छन् । आफूले जम्मा गरेको बचत माग्दासमेत नदिएको भन्दै प्रहरीमा उजुरी परेका छन् । दिक्तेलको बेसक्याम्पस्थित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थामा जम्मा गरेको बचत आफूहरूलाई उपलब्ध गराइदिन प्रहरीमा उजुरी गर्नुपरेको बचतकर्ता शर्मिला विश्वकर्माले बताइन् । आफ्नो समूहले जम्मा गरेको बचत फिर्ता माग्दा माइक्रोफाइनान्सका प्रबन्धक भूपाल खड्काले उल्टै प्रहरी प्रशासन लगाएर पक्राउने धम्की दिएपछि उजुरी दिनुपरेको उनको भनाइ छ । साउन २१ मा उजुरीपछि साउन २२ गते दुवै पक्षको छलफलमा प्रबन्धक खड्काले गल्ती स्वीकार गरी माफी मागेर बचत फिर्ता दिने कागज गरेको विश्वकर्माले सुनाइन् । भूपाल खड्काले भने बचतकर्ताहरूले कार्यालयको टेबल ठोकेकाले प्रहरी प्रशासनको सहयोग लिन खोजेको दाबी गरे ।
लघुवित्तहरूले हिसाब पारदर्शी नगरेकोसमेत
बचतकर्ताको भनाइ छ । निर्धन उत्थान लघुवित्तबाट एक लाख ४० हजार ऋण लिएको र उक्त ऋण भाका नपुगी बुझाउन खोज्दासमेत भाकामै बुझाउनुपर्ने भन्दै बुझ्न नमानेको सोल्माकी अञ्जना राईले बताइन् । आफूले पसल गर्न उक्त ऋण लिएको उनको भनाइ छ । धितो राखेरै ऋण लिएपछि धितो उकास्न खोज्दा उक्त लघुवित्तले नमानेको राईको गुनासो छ ।
प्रायः पालिकाहरूमा समेत यस्ता गुनासा आएको प्रदेशसभा सदस्य रामकुमार राईले बताए । राज्यले साना उद्यमीहरूलाई लक्ष्य गरी सञ्चालन गरेको लघुवित्त कार्यक्रम लक्षित वर्गमा पारदर्शी हिसाबले सञ्चालन नभएको र यसको अनुगमन र नियमन हुनुपर्ने उनको धारणा छ । ‘राज्यको लगानीमा सञ्चालित वित्तीय संस्थाका कार्यक्रम पारदर्शी नभएको गुनासा आएका छन्,’ उनले भने, ‘सम्बन्धित निकायले यसको अनुगमन र नियमन गर्न जरुरी छ ।’
वित्तीय संस्था नाफामुखी मात्र देखिएकाले सच्चिनुपर्ने दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सुनाए । जुन उद्देश्यले सञ्चालन हुनुपर्ने हो, त्यो अनुसार नभएकाले अब अनुगमन गरिने उनले जानकारी दिए । नगरक्षेत्रमा वित्तीय संस्था सञ्चालनका लागि दर्ता गरिनुपर्ने र नेपाल सरकारले तोकेको मापदण्डका आधारमा मात्र सेवा प्रवाह गर्नुपर्ने रिजालले बताए । जिल्लाका प्रायः सबै पालिकामा लघुवित्त सञ्चालनमा छन् । विभिन्न ठाउँमा लघुवित्तहरूको कार्यशैलीबारे गुनासा आएको र गैरकानुनी ठहरिए कारबाही हुने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

अर्थ वाणिज्य

अदालतको आदेशपछि टेन्डरको समय सारियो

रेलवे ट्र्याक बेल्ट निर्माण
- विमल खतिवडा

उच्च अदालत पाटनले रेलवे पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै टेन्डर खोल्ने समय सारिएको छ । गत साउन १९ मा न्यायाधीश शान्ता सेढाईं सापकोटाको इजलासले सोमबारसम्मका लागि टेन्डरसम्बन्धी काम यथास्थितिमा राख्न आदेश जारी गरेपछि रेल विभागले बुधबार सूचना जारी गर्दै टेन्डर खोल्ने समय सारेको हो ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा सीमित निर्माण व्यवसायीले ठेक्का पाउने गरी टेन्डर गरिएपछि अन्य व्यवसायीले यसको विरोध गर्दै आएका थिए । ठेक्कामा कार्टेलिङ भएको भन्दै तेजकुमार कुरुम्बाङले मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हालेका छन् ।
उनले सीमित ठेकेदारलाई मात्रै लाभ हुने गरी टेन्डर आह्वान भएकाले त्यसको खारेजीको माग गर्दै मुद्दा हालेका हुन् । उच्च अदालत पाटनले सरकारी पक्षको लिखित जवाफ मागेको छ । दुई चरणमा गरेर टेन्डर आह्वान गरिएको थियो । कुल ५४ खण्डमा रेलको ट्र्याक बेल्ट निर्माण गर्ने गरी टेन्डर आह्वान भएको हो ।
रेल विभागले गत असार १३ मा ३० र १७ गते २४ वटा टुक्राको टेन्डर आह्वान गरेको थियो । जसमा झापामा २४ र सुनसरी मोरङमा ३० वटा खण्ड पर्छ । टेन्डरमा ठेकेदारको अनुभवका रूपमा रेलवे ट्र्याकबेल्ट निर्माण गरेको हुनुपर्ने सर्त राखिएपछि सीमित निर्माण व्यवसायीले मात्र सहभागिता जनाएका छन् । असन्तुष्ट व्यवसायीका अनुसार अघिल्लो चरणमा ठेक्का पाएका सीमित १७ जना निर्माण व्यवसायी मात्र प्रतिस्पर्धामा सहभागी छन् । दुवै टेन्डर साउन २२ र २३ मा खोल्ने तयारी थियो । तर १९ गते उच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि साउन २८ र २९ गतेका लागि टेन्डर खोल्ने समय सारिएको हो ।
‘२६ गते पेसी छ,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘अदालतबाट कस्तो निर्णय हुन्छ, त्यहीअनुसार अघि बढ्छौं ।’ अदालतमा मुद्दा परेसँगै टेन्डरको समय थप गरिएको उनले बताए । सोमबार दुई पक्षको बहस हुनेछ । ‘अदालतले सदर गर्‍यो भने टेन्डर कुन रूपमा जान्छ भन्न सकिँदैन, फैसला छिटो भए पनि ६/७ महिना लाग्न सक्छ,’ उनले भने ।
काँकडभिट्टादेखि इनरुवासम्म १ सय ६ किमि छ । यहाँ दुई खण्ड गरेर ठेक्का आह्वान गरिएको हो । यो खण्डमा सात सय बिघा जग्गा रेलमार्गमा प्रयोग हुनेछ । त्यस्तै वनको पनि ३० बिघा जग्गा प्रयोग हुनेछ । ‘हामीले हतारमा ठेक्का गरेका होइनौं,’ मिश्रले भने, ‘जग्गाको यकिन गरेरै टेन्डर आह्वान गरेका हौं । गल्ती गरेर टेन्डर गरेको भए अहिलेसम्म रोकिइसक्ने थियो ।’ गलत गरेर टेन्डर गरेको भए अहिलेसम्म आफूलाई कारबाही भइसक्ने उनले सुनाए । ‘म काम गर्ने मान्छे हुँ, त्यही भएर अब अदालतबाटै यो कुरा टुंगिनेछ,’ उनले भने । क्राइटएरिया पहिला जे थियो, त्यही हुनुपर्ने ठेक्कामा भाग लिन नपाएका एक निर्माण व्यवसायीले बताए । राज्यलाई घाटा हुने काम गर्न नहुने उनको भनाइ छ । ‘हामीले पनि ठेक्कामा प्रतिस्पर्धा गर्न पाउनुपर्छ,’ उनले भने । झापाको काँकडभिट्टाबाट सुनसरीको इनरुवासम्म ट्र्याकबेल्ट तयार गर्न भन्दै ३४ अर्ब रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । उक्त रेलमार्गको कुल लम्बाइ ९ सय ४५ किमि छ । चितवन खण्डको डीपीआर भने अझै पूरा भइसकेको छैन ।
सुरुमा चितवन राष्ट्रिय निकुञ्जबाट रेलमार्ग पर्ने भएकाले यसको विरोध गरिएको थियो । पछि बाराको निजगढबाट हेटौंडा, भरतपुर हुँदै नवलपरासीको तम्सरी निकाल्ने गरी १ सय २० किमिको डीपीआरको काम थालिएको छ । ‘कोभिड–१९ ले गर्दा काम अघि बढ्न सकेको छैन,’ मिश्रले भने, ‘विदेश गएका सबै कन्सल्टेन्ट पनि फर्किइसकेका छैनन् ।’

अर्थ वाणिज्य

दुई दर्जन परियोजना बनाउँदै आयल निगम

- कान्तिपुर संवाददाता

नेपाल आयल निगमले झन्डै २५ अर्ब रुपैयाँ लागतमा मुख्य दुई दर्जन परियोजना बनाउने तयारी थालेको छ । निगमले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रमअनुसार उक्त परियोजनाको काम अगाडि बढाउने तयारी गरेको हो । परियोजनालाई आवश्यक कर्मचारी व्यवस्थापन गर्न देशभरका डिपो प्रमुखसमेत हेरफेर गरिएको छ । नयाँ प्रोजेक्टलाई आवश्यक इन्जिनियर र प्रशासनिकका आधारमा प्रमुखको सरुवा गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
‘३ वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य छ । सोहीअन्तर्गत केही टेन्डर भइसकेका छन्,’ उनले भने, ‘प्रोजेक्टलाई अगाडि बढाउन डिपो प्रमुख हेरफेर गरेका छौं । प्रशासनिक कर्मचारीलाई डिपो चलाउन दिएर प्राविधिकलाई परियोजना केन्द्रित गर्न खोजेका हौं ।’ झापा र धनुषामा एलपी ग्यासको बोटलिङ प्लान्ट, ग्यासको स्टोरेज, अमलेखगन्ज–लोथर पाइपलाइन र लोथरमा पेट्रोलियम स्टोरेज बनाइनेछ । झापामा पेट्रोलियम पाइपलाइन र स्टोरेज तथा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम जडान गर्ने निगमको तयारी छ । यो सिस्टम जडान भइसकेपछि म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, एकाउन्टिङ सिस्टम र सुरक्षित तथ्यांक भण्डारणलगायत काम डिजिटल नै हुनेछन् । एक क्लिकमा देशभरको तथ्यांक हेर्न सकिने निगमको दाबी छ ।
गण्डकी प्रदेशको भण्डार क्षमता अभिवृद्धि, भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको भण्डार अभिवृद्धि एवं चन्द्रगढी, जनकपुर र दाङ विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिनेछ । अन्य विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको सम्भाव्यता अध्ययन गरिनेछ । डिपो अटोमेसन, हुलाकी राजमार्ग र महेन्द्र राजमार्गमा पेट्रोल पम्प खोल्ने नीति लिइएको छ । नेपालगन्जको भण्डार अभिवृद्धि, निगमको कर्पोरेट भवन, तथ्यांक सेन्टर र तालिम केन्द्र, पेट्रोलियम पदार्थसम्बन्धी कानुन निर्माणलगायत प्रशासनिक सुधार गर्ने योजना अघि सारेको निगमले जनाएको छ । आपूर्ति स्रोतमा विविधीकरणको अध्ययन गर्ने योजना पनि निगमले अघि सारेको छ । ‘पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यले आन्तरिक बजारमा पार्ने प्रभावको निरन्तर अध्ययन तथा विश्लेषण गरिनेछ,’ निगमको नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रतिस्पर्धाका माध्यमबाट खाना पकाउने ग्यासको ढुवानी गरिनेछ । खाना पकाउने ग्यासको मूल्य वैज्ञानिक र समयानुकूल बनाइनेछ ।’
निगमका अनुसार सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाइनेछ । १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुने भण्डारण क्षमता विस्तार गर्न पहिलो चरणमा चितवन, झापा, सर्लाहीमा भण्डारण गृह निर्माण सुरु गरिने निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा राज्यको उपस्थिति कायम गर्न र बजार नियमनमा सहजीकरण गर्न सुरक्षाका निकायलगायतमा ट्यांक/ट्रक खरिद गरी सञ्चालन गरिने, चीनबाट इन्धन खरिद गर्ने सम्भावनाको अध्ययन, चीनको केरुङदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ । निगममा कार्यरत जनशक्तिको समयानुकूल क्षमता विकास गरिनेछ ।

Page 10
अर्थ वाणिज्य

उद्योगीलाई बिमा शुल्कमा छुट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– उद्योगी व्यवसायीले लकडाउन अवधिको बिमा शुल्कमा एकतिहाइ छुट पाउने भएका छन् । चालु आर्थिक वर्षको बजेटमा घोषित व्यवस्था कार्यान्वयनका लागि शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, बिमक संघ र बिमा समिति सरोकारवालाबीच छलफल भएको छ ।
छलफलमा लकडाउनमा सञ्चालन हुन नसकेका उद्योग प्रतिष्ठानका लागि एकतिहाइसम्म बिमा शुल्कमा छुट दिन सहमति भएको छ । उक्त व्यवस्था कार्यान्वयनका लागि भने बिमा समितिले परिपत्र जारी गर्नुपर्नेछ ।
‘कोभिड–१९ का कारण सञ्चालनमा आउन नसकेका उद्योग प्रतिष्ठान एवम् यातायातका साधनको बिमा पोलिसीको म्याद लकडाउनको अवधिसम्म थप गर्ने व्यवस्था मिलाइनेछ,’ चालु आवको बजेट वक्तव्यमा भनिएको छ । बजेटमा उल्लेख भएअनुसार यातायातका साधनको बिमा शुल्कमा यसअघि नै छुट दिइसकिएको छ ।
सरोकारवालाबीचको छलफलमा महासंघ र परिसंघले लकडाउनमा सञ्चालन हुन नसकेका उद्योग व्यवसायको विवरण दिने र सोही आधारमा बिमा समितिले परिपत्र जारी गर्ने सहमति भएको हो । ‘छिटोमा आउँदो साता निर्देशन जारी हुन सक्छ,’ बिमा समिति स्रोतले भन्यो, ‘महासंघ र परिसंघबाट कति छिटो बन्द उद्योग व्यवसायको विवरण आउँछ, त्यति छिटो निर्देशन आउँछ ।’
सहमतिअनुसार उद्योगी व्यवसायीले लकडाउन अवधिको बिमा शुल्कको एकतिहाइ छुट पाउनेछन् । यो उक्त अवधिको कुल बिमा शुल्कको ३३ प्रतिशत हो । उक्त अवधिमा कुनै पनि दाबी नपरेकाले थप दुई प्रतिशत थपेर ३५ प्रतिशतसम्म छुट दिन सक्ने विषयमा बिमा कम्पनी सहमत भएका छन् । तर बिमा समितिबाट निर्देशन जारी भइनसकेकाले एकतिहाइभन्दा बढी छुट दिनेबारे अहिले केही निर्णय भइनसकेको बताइएको छ ।
यो व्यवस्था कार्यान्वयनका लागि समितिबाट निर्देशन जारी भएपछि पनि उद्योगी व्यवसायीले सिधै नगद पैसा फिर्ता पाउने छैनन । उनीहरूले बिमा नवीकरण गर्दा मात्र उक्त छुट पाउने हुन् । कुनै उद्योगी व्यवसायीले चालु वर्षको पनि बिमा गरिसकेको भए उनीहरूले अर्को वर्ष बिमा गर्दा मात्र छुट पाउनेछन् ।

अर्थ वाणिज्य

गमगढीमा ग्लोबलको नयाँ शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ग्लोबल आईएमई बैंकले मुगुको छायानाथ गाउँपालिका–२ स्थित गमगढीमा शाखा सञ्चालनमा ल्याएको छ । योसहित बैंकको शाखा संख्या २ सय ५८ पुगेको छ । बैंकले सबै क्षेत्रमा आफ्नो बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

अर्थ वाणिज्य

एनआईसीको ‘लोन बेनिफिट क्याल्कुलेटर’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनआईसी एसिया बैंकले सुपर चामत्कारिक कर्जाबाट पाइने फाइदा हेर्न ‘लोन बेनिफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ । यो बैंकको वेबसाइटमा रहेको लिंकबाट हेर्न सकिनेछ । सुपर चामत्कारिक कर्जा योजनाबाट ब्याज, किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण यसबाट हेर्न सकिने बैंकले जानकारी दिएको छ ।

अर्थ वाणिज्य

सेञ्चुरीको ट्राभल कार्ड

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सेञ्चुरी कमर्सियल बैंकले थ्रीडी सेक्युर झिसा डेबिट, त्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ । बैंकले इन्टेलिजेन्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्युर सेवा थालेको हो । यसबाट बैंकको भिसा र ट्राभल कार्डबाट रकम निकाल्न र सामान खरिदका साथै अनलाइन माध्यमबाट सामान खरिद गर्न सकिन्छ ।

अर्थ वाणिज्य

एसबीआईका ग्राहकलाई सोल्टीमा छुट

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल एसबीआई बैंकले सोल्टी इन्टरप्राइजेज प्रालिबीच बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले बैंकको भिसा डेबिट कार्डबाट भुक्तानी गरे खाना र पेय पदार्थमा १० प्रतिशत पाउँछन् । यो छुट सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर नेपालगन्जमा उपलब्ध छ ।

अर्थ वाणिज्य

बनेपामा बेनेलीको सोरुम

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको आधिकारिक बिक्रेता टपगियर इन्टरनेसनलले बनेपामा सोरुमको उद्घाटन गरेको छ । कम्पनीले सोरुममा पाँच नयाँ मोडलका इन्जिन प्रस्तुत गरेको छ । यी मोडलहरूको इन्जिनमा दुई वर्षको वारेन्टी छ । कम्पनीले १५० सीसीको टीएनटी १५, १५० सीसीको टीएनटी १५० आई, २५० सीसीको बीएन २५१, एलईओएनसीआईएनओ २५० र टीआरके २५१ मोडलका इन्जिन ल्याएको जनाएको छ ।

अर्थ वाणिज्य

‘टिम स्वर्ग’ को विजेता टिम जीबी

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राकुटेन भाइबरको ई–स्पोटर््स ‘टिम स्वर्ग’ फोर्टनाइट प्रतियोगिताको विजेता टिम जीबी भएको छ । प्रतियोगिता प्रसारणमा ६ हजारभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगिताको विजयी टिममा यातो, क्नास सान्तोष र एसटिफोरइन्क्स थिए । विजेता टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । भाइबरले ई–स्पोर्ट्सलाई साथ दिन ‘टिम स्वर्ग’ नामक फोर्टनाइट कम्युनिटी सुरु गरेको छ । 

अर्थ वाणिज्य

प्रिस्टिन भ्यालीलाई बन्दरगाह जिम्मा

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वीरगन्ज आन्तरिक सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालन जिम्मा प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले पाएको छ । भ्यालीले शुक्रबार पर्साको सिर्सियास्थित ३८ हेक्टरमा रहेको बन्दरगाहको व्यवस्थापन र सञ्चालन जिम्मा लिएको हो ।
१६ वर्षदेखि सञ्चालित बन्दरगाह व्यवस्थापन पहिलोपटक निजी साझेदारलाई सुम्पिएको नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्र मोहन शाहीले जानकारी दिए । ‘रेल सञ्जालमा जोडिएको बन्दरगाहले नेपालको कन्टेनर यातायातको ५० प्रतिशत भाग व्यवस्थापन गर्दै आएको छ,’ उनले भने, ‘आगामी दिनमा नयाँ व्यवस्थापनले वाणिज्य व्यापारमा थप सहयोग पुर्‍याउने विश्वास राखेका छौं ।’ नेपाली साझेदार भ्याली टर्मिनल्सका निर्देशक माधव बरालले कोभिड–१९ सुरु भएदेखि बन्दरगाह कुल क्षमताको ३५ प्रतिशत हाराहारीमा मात्र सञ्चालनमा रहेको बताए । ‘महामारीको प्रकोप समाप्त हुने समयसीमा यकिन भएकाले आयात र निर्यातमा आएको ह्रास थप बढ्ने सम्भावना छ,’ उनले भने, ‘यो मन्द अवधिमा सडकमार्फत भइरहेको आयात र निर्यातलाई रेलमार्फत सुक्खा बन्दरगाहमा ल्याउन थप पहल गर्नेछौं ।’
वीरगन्ज सुक्खा बन्दरगाह सुरु भएदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेलवेको अंग कन्कोर रेलवेजले स्थानीय साझेदार हिमालयन टर्मिनल प्रालिमार्फत सञ्चालन गर्दै आएको थियो । ०५७ देखि निर्माण सुरु भई ०६१ सालमा सञ्चालनमा आएको बन्दरगाहको ४५ सय कन्टेनर व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ । भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट रक्सौल हुँदै सोझै वीरगन्ज बन्दगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेल आवतजावत गर्छन् ।

Page 11
समाचार

क्वारेन्टाइनमा आत्महत्या

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले शुक्रबार आत्महत्या गरेकी छन् । दुबईबाट गत साउन १७ गते फर्किएकी बेथानचोक ४ की २१ वर्षीया ती युवती स्वास्थ्य चौकी भवनमा रहेको क्वारेन्टाइनस्थलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानको खाना खाएर नुहाएकी उनी आफू बसेभन्दा माथिल्लो तलमा मृत फेला परेकी थिइन् । बिहान ११ बजे वडाध्यक्ष लालबहादुर श्रेष्ठले क्वारेन्टाइनस्थलमा नै भेटेर स्वास्थ्यस्थितिबारे चासो राखेका थिए । ‘कुनै गुनासो, समस्या छ कि भनेर सोध्दा त्यस्तो केही छैन भनेकी थिइन्,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘५/६ मिनेट कुरा गरेर निस्केको थिएँ, दुःखद् घटना सुन्नुपर्‍यो ।’
मृतकका आफन्तले क्वारेन्टाइनस्थलको लापरबाहीका कारण आत्महत्या गर्न बाध्य पारिएको भन्दै प्रदर्शन गरेका थिए । उनीहरूले स्वास्थ्यचौकी भवनमा तोडफोड समेत गरेका छन् । स्थिती नियन्त्रण बाहिर गएपछि जिल्ला प्रहरी कार्यलयबाट डीएसपी कुमारविक्रम थापाको नेतृत्वमा थप बल बेथानचोक पुगेको थियो । थप अनुसन्धानपछि मात्रै घटनाबारे यकिन गर्न सकिने जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताए ।

समाचार

युवाको अनशनप्रति सरकार गम्भीर भएन : कांग्रेस

- कान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युवाको आमरण अनशनलाई सरकारले गम्भीरतापूर्वक नलिएकामा दुःख प्रकट गरेका छन् । उनीहरूले उठाएको मागलाई अविलम्ब सम्बोधन गरी अनशनकारीको जीवन रक्षा गर्न शर्माले शुक्रबार विज्ञप्तिमार्फत माग गरेका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि विभिन्न माग राखेर ‘इनफ इज इनफ’ का युवा २० दिनदेखि आमरण अनशनमा छन् । उनीहरूको मागमा ऐक्यबद्धता जनाउँदै कांग्रेसले यसअघिदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । ‘उनीहरूले त्यही माग अघि सारेका छन्, जो विगतदेखि दल र सञ्चारमाध्यमले उठाउँदै आएका थिए, सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्,’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘तर अनशनमा बसेको बीस दिन पूरा भइसक्दा पनि संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अन्त्यन्तै दुःखद छ ।’
शर्माले कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनुपर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको बताएका छन् । उनले अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोनाविरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवं अपेक्षित गतिका साथ काम गर्न सरकारसमक्ष माग गरेका छन् ।

समाचार

फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु

- कान्तिपुर संवाददाता

धनुषा (कास)– जनकपुरको रामजानकी अस्पतालमा फरक समूहको रगत चढाउँदा सुत्केरीको ज्यान गएको छ । ‘ओ’ पोजिटिभको साटो ‘बी’ पोजिटिभ रगत चढाउँदा महोत्तरीको गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सुत्केरी बेथा लागेपछि बिहीबार अपराह्न ४ बजे अस्पताल भर्ना गरिएकी महतोले शल्यक्रियाबाट छोरी जन्माएकी थिइन् । शरीरमा रगत अभाव भएपछि अस्पतालले सुत्केरीको रगतको नमुनासहित आफन्तलाई नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा रगत लिन पठाएको थियो । त्यहाबाट ल्याइएको दुई पोका रगत चढाएपछि सुत्केरी झन् सिकिस्त भएकी थिइन् । त्यसपछि जाँच गर्दा गलत रगत चढाइएको पत्ता लागेको थियो । त्यसको केहीबरेमै महतोको मृत्यु भएको थियो । मृतकका पति राजकिशोर महतोले अस्पतालले भने अनुसार नै नमुना लगेर रेडक्रसबाट रगत ल्याएको र त्यही रगत अस्पतालले चढाएको बताए । ‘अस्पताल र रेडक्रसको लापरबाहीले श्रीमतीको ज्यान गयो । उनीहरूलाई कारबाही र क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउँदैनौं,’ उनले भने ।
अस्पताल सञ्चालक गणेश साहले लापरबाही नभएको दाबी गरे । उनले रेडक्रसको लापरबाहीका कारण फरक समूहको रगत चढेको बताए । जनकपुर रेडक्रसका सभापति रामनरेश सिंहले अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न आरोप लगाएको बताए । ‘अस्पतालले लगेपछि उनीहरूले पनि क्रस चेक गरेर रगत चढाउनुपर्ने हो,’ उनले भने, ‘यो घटनाका विषयमा धेरै कुरा मलाई थाहा छैन । कसको लापरबाही छ, बुझिरहेको छु ।’ उपचारमा संलग्न चिकित्सक र अन्य कर्मचारीलाई बोलाएर सोधपुछ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

समाचार

एयर इन्डियाको जहाज दुर्घटना, ११ को मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

नयाँदिल्ली (कास)– भारतको केरला राज्यको कोझिकोड विमास्थलमा एयर इन्डिया एक्सप्रेसको जहाज शुक्रबार साँझ दुर्घटना हुँदा एक जना चालकसहित कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ । दुबईबाट आएको जहाज अवतरणका क्रममा धावन मार्गबाट चिप्लिएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमानमा चालक दलसहित १ सय ९१ जना यात्रु थिए । घाइते ५० मध्ये १५ जनाको स्थिति गम्भीर रहेको बताइएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार एयर इन्डियाको आईएक्स– १३४४ को उक्त विमान अवतरणका क्रममा विमानस्थलमा घनघोर वर्षा भइरहेको थियो र त्यही बेला चिप्लिएर धावनमार्गको छेउसम्म उछिट्टिँदै दुई भागमा टुक्रिएको थियो । एयर इन्डिया एक्सप्रेसको फ्लिटमा यो नै अन्तिम बोइङ–७३७ थियो । दुर्घटनाग्रस्त विमान ‘बन्दे भारत’ अभियानअन्तर्गत लकडाउनमा अलपत्र भारतीय यात्रुहरू बोकेर केरला आएको थियो । केरलामा बिहीबार रातिदेखि नै घनघोर वर्षा भइरहेको थियो । वर्षापछि गएको पहिरोमा परी केरलाकै इदुक्की जिल्लामा शुक्रबार बिहान ५० जनाभन्दा बढी पुरिएका थिए ।

समाचार

बीपी सम्मान नेपाललाई, सेनानी पुरस्कार दाहाललाई

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको साहित्य सम्मान पुरस्कारबाट वरिष्ठ साहित्यकार ज्ञानमणि नेपाललाई सम्मानित गर्ने भएको छ । १ लाख १ हजार रुपैयाँ राशिको उक्त पुरस्कार इतिहासका ज्ञातासमेत रहेका नेपाललाई दिने निर्णय शुक्रबार गरिएको हो । त्यस्तै ट्रस्टले प्रदान गर्ने बीपी सेनानी सम्मान पुरस्कार पूर्वसांसद होमनाथ दाहाललाई दिने निर्णय गरेको छ । सेनानी पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ । यी दुवै पुरस्कारको निर्णय ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा गठित समितिले सर्वसम्मतबाट गरेको हो ।

Page 12
खेलकुद

जर्सी नम्बर १०

- राजु घिसिङ

नेपाली फुटबलमा खुबै चम्किएका खेलाडी हुन् अनिल गुरूङ । उनले इंग्ल्यान्डमा ट्रायल दिनेदेखि भारतको शीर्ष लिग खेल्ने अवसरसम्म पाए । राष्ट्रिय टिमबाट १० वर्ष खेलेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको पनि झन्डै तीन वर्ष भयो । क्लब फुटबलमा व्यस्त भएको त १७ वर्ष नै लाग्यो । नेपालका यी १५औं कप्तानले क्लब करिअर अझै टुंग्याएका छैनन् । ३४ वर्षीय उनी क्लब र राष्ट्रिय टिममा जर्सी नम्बर १० लगाउँथे । उतारचढावपूर्ण करिअरमा अनिलको आफ्नै रोजाइका १० उपलब्धि :

 

३१ औं खेलाडी
पोखराको सहारा क्लब भन्नेबित्तिकै अनिलको नाम पनि जोडिन्छ । किनकि उनी सहारा एकेडेमीबाट आएका सबैभन्दा चर्चित खेलाडी हुन् । वास्तवमा उनी एकेडेमीले छनोट गरेका ३० खेलाडीको सूचीमा परेका थिएनन् । उनलाई सम्झना छ– ब्याग, ट्र्याकसुट दिएका ३० खेलाडीलाई उभ्याएर फोटो खिचाएको, जहाँ उनलाई हटाइएको थियो । त्यही बेला हो उनले तत्कालीन प्रशिक्षक कृष्ण थापा (हाल एन्फा उपाध्यक्ष) को छनोटमा नपरेको थाह पाएको । किन छनोट भएन भन्ने उनले पत्तै पाएनन् ।
आमाले क्लबका तत्कालीन अध्यक्ष विक्रम थकालीलाई धेरैपल्ट आग्रह गरेपछि बल्ल अनिलले एकेडेमीको प्रशिक्षणमा ३१ औं खेलाडीको रूपमा ट्रेनिङ गर्ने मौका पाएका थिए । थकालीले भनेका थिए, ठीकै छ ट्रेनिङमा पठाउनुस्, तपाईंको छोरालाई हामी केही दिन (खेल सामग्री) भने सक्दैनौं । एकेडेमीमा प्रशिक्षक फेरिए, डम्बरसिं गुरुङ आए । उनैले अनिललाई राम्रो छ भन्दै ख्याल गर्न थाले, खेलमा पनि समावेश गर्न थाले । अनिललाई ताजै छ, ‘दुःख लाग्थ्यो, सबैको ड्रेस हुन्थ्यो, मैले पाउँथेन । सबैलाई एक–एकवटा बल हुन्थ्यो । मैले भने घरबाटै बल लिएर जानुपर्थ्यो ।’ उनी मालेपाटनबाट साइकलमा पछाडि बल च्यापेर बिहान ६ बजे नै रंगशालातिर हुइँकिन्थे । यसरी उनले दुई वर्ष मिहिनेत गरे ।

स्कुले स्ट्राइकर
अनिल कक्षा ८ मा पढिरहेका थिए । सहारामा ट्रेनिङ गरिरहेका थिए । केही स्थानीय प्रतियोगिता पनि खेलिसकेका थिए । त्यसमा राम्रो देखेरै हुन सक्छ, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले रेलिगेसन टार्ने खेलाडीको खोजीमा पोखरामा सम्पर्क गरेपछि प्रशिक्षक पुष्प केसीले अनिल, सुन्दर थापा र विश्वराज केसीलाई सिफारिस गरेको । यी तीनै खेलाडी मालेपाटनका हुन् ।
‘कप्तान र म्यानेजर रंगशाला (पोखरा) आएर बीबीसीका लागि काठमाडौंमा लिग खेल्न भने,’ अनिलले सुनाए, ‘खानाबस्न निःशुल्क । प्रतिखेल ५ सय रुपैयाँ दिने भने । पैसाभन्दा खेल्न पाउनु ठूलो भएकाले जान्छु भनिहालें । स्कुल पढ्ने व्यवस्था पनि काठमाडौंमै गरिदिने बताए । तर, मैले घरमा भनेको थिइनँ । स्कुल छुट्छ भनेर आमाले मान्नुभएन । एकदमै ढिट गरेपछि बल्ल दिनुभयो । एक हजार रुपैयाँ गोजीमा हालेर मलाई काठमाडौं पठाउनुभयो ।’ उनी काठमाडौं त आए । त्यसबेलासम्म ६ खेल सकिएको थियो, जहाँ बीबीसीले असफलतामात्रै बेहोरेको थियो ।
धरान र पोखराबाट ल्याएका तीन–तीन खेलाडीलाई पहिलो रोजाइमै उतार्दै बीबीसीले थ्रीस्टारविरुद्ध प्रतिस्पर्धा गर्यो । अनिलले भने, ‘हाम्रो पहिलो खेलमै थ्रीस्टारले १० गोल हान्यो । दसैंपल्ट सेन्टरबाट बल मैले नै चलाएँ ।’ कामले बेलायत पुगेका बीबीसीका प्रशिक्षक त्यसै दिन सोझै दशरथ रंगशाला आइपुगेका थिए । ६ जना नयाँ खेलाडी देखेर अचम्भित भए । उनी खुबै रिसाए । क्लबको बैठकमै ती नयाँ खेलाडीहरू चाहिँदैन भनिदिए । अफिसियलले आग्रह गरेपछि ती बेलायती प्रशिक्षकले अर्को खेलमा नयाँमध्ये अनिल र विष्णु सुनारलाई मात्रै पहिलो रोजाइमा खेलाए ।
अनिललाई उनै प्रशिक्षकले राइट मिडफिल्डबाट अगाडि (फरवार्ड) बढाए । ६ खेल खेल्दै ९ गोल गरेपछि १६ वर्षे अनिल एकाएक चर्चित बने । त्यसबेलाका चर्चित गोलकिपर उज्ज्वल मानन्धर (संकटा) विरुद्ध पेनाल्टी क्षेत्रबाहिरबाटै ‘भली गोल’ गरेपछि भोलिपल्ट पत्रिकामा अनिलको फोटो छापियो । ‘पत्रिकामा आफ्नो फोटो देखेर एकदमै खुसी भएँ । अरू गोल गर्दा पनि नाम र फोटो छापिन थाल्यो । टीभीको समाचारमा मैले हानेको गोल देखाउन थाल्यो । राम्रो खेल्यो भने यस्तो हुँदो रहेछ भन्ने लाग्यो । ऊर्जा आयो,’ उनले सुनाए । सहिद स्मारक ‘ए’ डिभिजन लिगको डेब्यूमा बीबीसीले रेलिगेसन मात्रै टारेन, १३ क्लबमध्ये नवौं भयो ।

६ ह्याट्रिक, ३२ गोल
बीबीसीपछि ललितपुरकै थ्रीस्टार पुगेका अनिल त्यहाँ सुरेन्द्र तामाङ र सन्तोष साहुखलको छायामा परे । प्रायः बेन्चमै बस्नुपर्‍यो । त्यसैले हुन सक्छ, अनिल मनाङ मर्स्याङ्दीमा पुगे २०६३ मा । भर्खरै वसन्त थापा विदेश लागेकाले उनले मनाङमा १० नम्बर जर्सी पाए । वसन्त गौचनले ‘राम्रो हुन्छ र सेटमा खेल्न पाउँछौ’ भनेपछि उनले क्लब फेरेका थिए । उनलाई थ्रीस्टारमै बस्न क्लबका तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठले फकाइरहेका थिए ।
दक्षिण एसियाली खेलकुदका लागि यू–२३ टिमको बन्द प्रशिक्षण भइरहेको थियो । खेलाडीहरू कमल होटल, कमलपोखरीमा बसेका थिए । त्यही सुटकेसमा पैसा लिएर अनिललाई अनुबन्ध गर्न पुगेका थिए मनाङका व्यवस्थापक । थ्रीस्टारमा मासिक ६ हजार पाएका अनिललाई मनाङले १२ हजार दिने भन्यो । ‘तलब दोब्बर हुँदा खुसी भए । तर, अहिले पैसा होइन, बाइक चाहिएको छ भने । उहाँ (भुर्जुङ घले) आफैंले १ लाख ४३ हजार हालेर कालो पल्सर टेकुबाट किनिदिनुभयो । मेरो तलबबाट कटाउने गरी लिइएको त्यो बाइक अहिले पनि मसँगै छ । अंकल (भुर्जुङ) कै नाममा छ बाइक ।’
आर्मीका फरवार्ड विकर्ण श्रेष्ठ पनि एकदमै राम्रो लयमा थिए त्यो बेला । सर्वाधिक गोलकर्ताको होडमा विकर्ण र अनिलको प्रतिस्पर्धा थियो । ‘कहिले विकर्ण अगाडि हुन्थे, कहिले म,’ अनिलले भने, ‘एकदमै रमाइलो प्रतिस्पर्धा हुन्थ्यो । उनी एक दुई सिजन खेलेपछि घाइते भएर फुटबलबाटै गए । तर, लिगमा उनीजस्ता फरवार्ड चाहिन्छ, किनकि यस्तो प्रतिस्पर्धामा अझ धेरै गोल गर्ने हौसला मिल्छ । मलाई उनले गर्दा नै सर्वाधिक गोलकर्ता (‘ए’ डिभिजन लिग २०६३) भएजस्तो लाग्छ ।’
उनले त्यो सिजन ३२ गोल गरेर सर्वाधिक गोलकर्ताको यामाहा बाइक जिते । ६ ह्याट्रिक गरेका उनलाई त्यो उपलब्धि कुन–कुन टिमविरुद्ध हो भन्ने सम्झना छैन । उनको व्यक्तिगत प्रदर्शन राम्रो भयो । तर, मनाङको नतिजा भने गतिलो भएन । उपाधि जोगाउन होमिएको मनाङ १४ क्लबको डबल लिग (२६–२६ खेल) हुँदा चौथोमा सीमित भयो । त्यसयता अनिलको गोललाई एउटै लिगमा कुनै पनि फरवार्डले उछिन्न सकेको छैन ।

इंग्ल्यान्डमा ट्रायल
सहारा यूकेको पहलमा अनिल २०६६ सालमा इंग्ल्यान्डको छैटौं डिभिजन क्लब ‘वोकिङ’ मा ट्रायल दिन पुगे । तीन महिना त्यही ट्रेनिङ गरे । एक महिना डुले । फर्किएपछि आई लिग क्लबसँग हस्ताक्षर गरे ।
इंग्ल्यान्ड बसाइबारे अनिलले भने, ‘त्यहाँको फुटबल एकदमै नजिकबाट नियाल्न पाएँ । गेम त थाह थियो कस्तो छ भनेर । मैदान, खेलाडीको स्तर, लाइफ स्टाइलदेखि खानपान एकदमै राम्रो थियो । छैटौं डिभिजनको क्लब भए पनि वोकिङका खेलाडी सुटमै आउँथे ट्रेनिङ गर्न पनि । अनि चेन्ज गरेर मैदानमा जान्थे । उनीहरूले गाडी (कार) चढेको देख्दा मैले पनि भविष्यमा पैसा कमाएर यस्तै खालको नभए पनि सक्ने गाडी चढ्छु भन्ने ठानें । मिहिनेत पनि गरें । अहिले चढिरहेको छु ।’
वोकिङ एफसीमा प्रशिक्षकसँगको पहिलो भेटलाई अनिल बिर्सन सक्दैनन् । प्रशिक्षकलाई भूपेन्द्र गुरुङले नेपालको उत्कृष्ट खेलाडी भन्दै अनिललाई चिनाएका थिए । ‘मलाई हातले देखाएर कोचले यो पनि फुटबल खेल्छ र भनेर सोधे,’ ५ फिट ५ इन्चका अनिलले भने, ‘नेपालमा हजारौं दर्शकसामु खेलेको, गोल गरेको फोटो, पत्रिकाको कटिङ र सीभी देखाएपछि बल्ल ठीक छ भन्दै फिजिकल हेरेर मलाई ट्रेनिङमा बोलाएका थिए ।’
त्यस बेला प्रिमियर लिग क्लब चेल्सीमा कार्यरत भूपेनले अनिललाई वोकिङको ट्रेनिङमा पुर्‍याउनुपर्थ्यो । क्लबले केही सुविधा दिएको थिएन ।
अनिलले भने, ‘त्यहाँ (वोकिङ) मा मभन्दा धेरै माथिल्लो स्तरका खेलाडीसँग ट्रेनिङ गर्न पाएँ । म एकदम फिट पनि थिएँ । त्यो स्तरको अनुभवले दक्षिण एसियामा उच्चस्तरमा खेल्न एकदमै सजिलो बनाउँछ । अरु खेलाडी पनि यसरी गयो भने धेरै राम्रो हुन्छ ।’ उनलाई ‘नन लिग क्लब’ वोकिङ अनुबन्धको प्रस्ताव पनि गरेको थियो । ‘बिजनेस भिसा लिने प्रयास गरेका थिए, भएन । एन्फाले पनि समयमै पत्र पठाइदिएन । त्यसैले इंग्ल्यान्डमा खेल्ने सबै प्रयास खेर गयो,’ उनले भने ।

आई लिग यात्रा
अनिलको उत्कृष्ट प्रदर्शनको सहयोगमा एनआरटीले सिक्किममा थ्रीस्टारलाई हराएर गभर्नर्स गोल्डकपको उपाधि जितेको थियो । त्यसपछि सौरभ राईले आई लिग खेल्ने प्रस्ताव अनिललाई गरेका थिए । तर, अनिल इंग्ल्यान्डको नन लिग क्लबमा ट्रायल दिन गए । स्वदेश फर्कंदा पनि आई लिग सुरु नभइसकेकाले फेरि कुरा अगाडि बढ्यो । उनी दुई साताको ट्रायलको समय लिएर पुगे सिलोङ । ट्रेनिङ र केही मैत्रीपूर्ण खेलपछि उनलाई आई लिग क्लब सिलोङ लाजोङले २०६६ साल कात्तिकमा तीन वर्षका लागि अनुबन्ध गर्यो भारु ३९ लाख ७५ हजार (६३ लाख ६० हजार रुपैयाँ) मा ।
त्यस बेला इन्डियन सुपर लिग (आईएसएल) गाइँगुइँ पनि चलेको थिएन । भारतको माथिल्लो श्रेणीको प्रतियोगिता थियो आई लिग । सिलोङ लाजोङ भर्खरै आई लिगमा उक्लिएको थियो । त्यस बेला करिअरकै उच्च लयमा रहेका अनिलले भने, ‘प्रि–सिजनमा सिलोङ पुगेको थिएँ । मैले मान्छे नगन्ने, मेरो गेमले, सजिलो भयो । मैत्रीपूर्ण खेलहरूमा गोल पनि हानें । ‘लासिङ मिङ (सिलोङ लाजोङका मालिक) ले आफ्नो रिसोर्टमा बोलाएर यो केटा राख्नुपर्छ भने,’ अनिलले स्मरण गरे, ‘पछि थाह भयो उनको होटलमा काम गर्ने धेरै नेपाली रहेछन् । त्यसैले एउटा नेपाली खेलाडी पनि राख्छु भन्ने रहेछ ।’ अनिलले एकवर्षे सम्झौता चाहेका थिए । तर, क्लबले तीन वर्ष गर्ने भनेपछि त्यसैअनुसार हस्ताक्षर गरिएको थियो ।
‘ठूलो रकम । अहिले सम्झिँदा पनि खुसी लाग्छ,’ अनिलले सुनाए, ‘इन्डियाको एउटा क्लबमा खेल्न पायो, आई लिग खेल्न पायो भनेर खुसी भएको हो, त्यो ६३ लाख पाएर होइन । यति धेरै पैसा पायो अब कसरी खेल्ने भनेर दबाब हुन्थ्यो ।’
जवाहरलाल नेहरू रंगशालामा प्यारापिटभरी दर्शकबीच फुटबल खेलेका उनलाई घरघरमा खाना खाना बोलाउने स्थानीयको लस्कर हुन्थ्यो । उनले त्यहाँ २१ महिना बिताए । क्लब फड्को मार्न सकेन । टिम आई लिगबाट रेलिगेसनमा पर्यो र उनी एक वर्षको सम्झौता बाँकी छँदै पुरानो क्लब मनाङ फर्किए ।
‘स्थानीय प्रतियोगिता पनि धेरै खेले । १५–१६ गोल गरे,’ अनिलले सम्झिए, ‘आफ्नो लागि सिलोङ लाजोङको करिअर सफल मान्छु ।’ उनका लागि फेडेरेसन कप (सन् २००९) को फाइनल पुग्नु सबैभन्दा ठूलो उपलब्धि रह्यो, जहाँ उसलाई इस्ट बंगालले टाइब्रेकरमा पराजित गरेको थियो । अनिल टाइब्रेकरमा चुकेका थिए ।

लिग च्याम्पियन
सिलोङबाट अनिल २०६८ सालमा मनाङ फर्किए । उनको आगमनपछि मनाङ २०७० सालको सहिद स्मारक ए डिभिजन लिगमा च्याम्पियन बन्यो । ‘नकआउटको उपाधि धेरै जिते, नजितेको प्रतियोगिता छैन । तर, मैले जितेको लिगको उपाधि त्यही (२०७०) एउटा हो । लिगको उपाधिमा खुसीको सीमा नै छैन,’ करिअरको एकमात्र लिग उपाधिका क्रममा ७ गोल गरेका उनले सुनाए, ‘हजारौं दर्शकको अगाडि घरेलु लिगको उपाधि जित्दा एकदमै खुसी भए । फ्यानले गर्दा नै म यो ठाउँमा छु किनकि मलाई उनीहरूले सपोर्ट गर्छन् ।’
स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेको मछिन्द्रलाई १ अंकले छाड्दै मनाङ छैटौंपल्ट लिग च्याम्पियन भएको थियो । सुपर लिगमा मछिन्द्रले मनाङलाई पराजित गरेको थियो । त्यही लिगको प्रदर्शनको आधारमा कालिन ५ वर्षपछि आएर नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएका हुन् । अनिल पनि त्यो लिगको उपाधि होड कठिन भएको मान्छन्, ‘हाम्रो टिमवर्क राम्रो थियो । खेल भने त्यस्तो धेरै राम्रो थिएन । तर, जाम्लिङ दाइ (घले, क्लबका तत्कालीन अध्यक्ष) व्यवस्थापनमा कमी कमजोरी थिएन ।’
त्यसपछि सागर थापा थ्रीस्टार गए अनि अनिल मनाङको कप्तान बने । उनी क्लब व्यवस्थापनसँग सम्बन्ध बिग्रिएपछि २०७५ सालमा थ्रीस्टार पुगे । २०७६ सालमा बीबीसी फर्किए । ‘धेरै क्लबले प्रस्ताव गरे पनि पुरानै क्लबबाट खेल्ने निर्णय गरे । अझै १–२ वर्ष खेलेर संन्यास लिन्छु,’ उनले भने ।

प्रधानमन्त्री कप
माओवादीको भ्रातृ संगठन गणतान्त्रिक खेलकुद महासंघले २०६५ सालमा आयोजना गरेको थियो, प्रधानमन्त्री कप । एन्फाको मान्यता पाए पनि यो औपचारिक प्रतियोगिता थिएन । यस आमन्त्रण प्रतियोगितामा नेपाल रातो र नीलो गरी स्वदेशी दुई टिम थियो । श्रीलंका र पाकिस्तानको राष्ट्रिय टिम, बंगलादेशी क्लब आरम्बाग र थाइल्यान्डको जेडब्लू ग्रुप आएका थिए ।
राष्ट्रिय टिमका सिनियर खेलाडीले भरिएको नेपाल रातोबाट अनिल खेलेका थिए । यो टिमको सुरुवात राम्रो थिएन । आरम्बागसँग बराबरी गरेपछि पाकिस्तानलाई १–० ले हराएर समूह विजेता भयो । सेमिफाइनलमा जेडब्लूलाई पराजित गरेको नेपाल रातोले फाइनलमा श्रीलंकालाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४–२ ले पन्छाउँदै उपाधि जित्यो । टाइब्रेकरमा अनिल, सन्दीप राई, राजु तामाङ र विराज महर्जनले गोल गरेका थिए ।
अनौपचारिक प्रतियोगिता भए पनि नेपाली टिमको हरेक खेलमा दशरथ रंगशालाको प्यारापिट भरिएको थियो । अनिल भन्छन्, ‘थाइ टिमसँग सेमिफाइनल खेलेको भोलिपल्टै श्रीलंकाविरुद्ध फाइनल खेल्नुपर्यो । हाम्रा धेरै खेलाडी घाइते थिए । पेनाल्टीमै भए पनि उपाधि जित्यौं । दर्शक प्यारापिटबाट मैदानतिर हाम्फाल्दा हाम्रो जर्सी नै थिएन । त्यो जितको खुसीको बयान नै गर्न सक्दिनँ । अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट क्षण हो मेरो ।’

भारतविरुद्ध गोल
मैदानको प्रतिस्पर्धा जस्तोसुकै भए पनि नेपाल र भारतको खेल सधैं आकर्षक हुने गर्छ । साफ च्याम्पियनसिप २०१३ त्यसकै शृंखला हो । जसमा नेपालले २–१ को सनसनी जित निकालेको थियो । सबै गोल दोस्रो हाफमा भएको थियो । दशरथ रंगशालामा भएको त्यो खेलको पहिलो गोलकर्ता अनिल नै हुन् । सन्दीप राईको फ्रिकिकमा विक्रम लामाको हेडर क्रसबारमा लागेर फर्केपछि अनिलले बललाई हल्का रूपमै गोलमा परिणत गर्दै १८ हजार दर्शकलाई खुसी दिएका थिए । अर्को गोल जुमनु राईले गरेका थिए । समूहमा पहिलो भए पनि नेपाली टिम सेमिफाइनलमा अफगानिस्तानविरुद्ध चुकेको थियो ।
‘दक्षिण एसियामा भारत भन्नेबित्तिकै हाम्रो लागि एकदमै ठूलो प्रतिद्वन्द्वी हो, सुनील क्षत्रीको टिमविरुद्ध पाएको सफलताबारे अनिलले भने, ‘त्यो खेल बराबरी गरे पनि हामी सेमिफाइनल पुग्थ्यौं । तर, जित्यौं । हामी सेमिफाइनलबाटै बाहिरिए पनि भारतलाई पराजित गरेको क्षण सबैभन्दा सुखद लाग्छ । अहिले सम्झँदा पनि गर्व लाग्छ । त्यो खेलको हरेक पास अहिले पनि ठ्याक्कै भन्न सक्छु । दिमागमा सबै कुरा सेट भएर बसेको छ ।’
उनले अन्तर्राष्ट्रिय फुटबलको १० वर्षे करिअरमा भारतविरुद्ध गरेको पहिलो र एकमात्र गोल हो । उनले नेपालका लागि ५० खेल खेल्दै ९ गोल गरेका छन् ।

कप्तानी कप
भूत न भविष्यको प्रतियोगिता थियो सोलिडारिटी कप । यसमा एसियन कप २०१९ छनोटको पहिलो चरणबाटै बाहिरिएका महादेशकै कमजोर आठ देश सहभागी थिए । एसियाली फुटबल महासंघ (एएफसी) ले यस्तो प्रतियोगिता न पहिला आयोजना गरेको थियो न त पछि सञ्चालन गर्ने योजना नै ल्याएको थियो । तैपनि खेल्न नपाइरहेको बेला नेपालजस्तो टिमका लागि महत्त्वपूर्ण नै बन्यो ।
अनिल गुरुङको कप्तानीमा मलेसिया उडेको नेपाली टिमले कुचिङ इस्ट टिमोरसँग गोलरहित बराबरीपछि ब्रुनाईलाई ३–० ले हराएर सेमिफाइनल पुग्यो । सेमिफाइनलमा २–२ पछि लाओसलाई टाइब्रेकरमा हरायो । फाइनलमा मकाउलाई सुजल श्रेष्ठको गोलमा १–० ले हराएर नेपालले ऐतिहासिक उपाधि जित्यो । यससँगै पहिले नै बाहिरिसकेको नेपालले एसियन कपको छनोट फेरि खेल्ने मौका पायो ।
‘मेरो कप्तानीमा घोषणा भएको टिमले उपाधि जित्यो । मैले लाइनअप नपाए पनि अनिल गुरुङको कप्तानीमा भएको टिमले एउटा उपाधि जित्यो भनेर सम्झिने छ, त्यसमा एदकमै खुसी लाग्यो,’ दक्षिण एसियाबाहिर नेपालले जितेको पहिलो उपाधिबारे अनिल बोले, ‘मेरो जीवनकै उत्कृष्ट क्षण हो त्यो ।’ कप्तान भए पनि उनले ग्यातोकु कोजुको टिममा पहिलो रोजाइमा खेल्ने अवसर पाएनन् । त्यसैले विराज महर्जनले आर्मब्यान्ड बाँधे । अनिल बेन्चै हुन्थे । उनी तीन खेलमा सब्स्टिच्युटको रूपमा मैदानमा प्रवेश गरेका थिए ।
‘मैले बेन्चबाट हेर्दा एउटा क्याप्तान भएर टिममै नभए पनि कहिले लाइनमा गएर केटाहरू पानी खान आउने बेला हौसला दिन्थे, कहिले चेन्जिङ रुममा । खेलाडी परिवर्तन हुँदा पनि मनोबल बढाउने काम गर्थे । त्यो गरेर पनि जित्दा एकदम खुसी लाग्छ,’ अनिल भावुक बने, ‘खेलाडीको समय परिवर्तन हुन्छ, सधैं एउटै हुँदैन । सधैं टिममा हुन्छ भन्ने छैन । त्यसैले मैले सम्हालेको टिमले उपाधि जित्दा खुसी नै लाग्यो । प्रतियोगिताका बेला पहिलो प्रार्थना मैले नै गर्थे । आर्मब्यान्ड अरुले नै बाँधे पनि होटलदेखि ट्रेनिङ ग्राउन्डसम्म टिमको नेतृत्व मैले नै गर्थें । दुईपल्ट मैदान प्रवेश गर्दा पनि आर्मब्यान्ड लगाएको थिएँ । फाइनलमा भने मैदानमा प्रवेश गरेर पनि त्यो क्षण नै अनुभव गर्न पाइएन । थोरै समय थियो १–० ले जितिरहेको थियो । बाँकी ५–६ मिनेट विपक्षीलाई रोक्नैपर्ने थियो । ध्यान त्यतैतिर गयो । आर्मब्यान्ड मलाई नदिएको हो वा दिन नखोजेको हो थाहा भएन ।’
अघिल्लो वर्ष जितेको बंगबन्धु गोल्डकपमा अनिललगायत सिनियर खेलाडीलाई आराम दिइँदा नेपालको कप्तानी विराजले गरेका थिए ।

 

सबैभन्दा महँगा खेलाडी

‘अनिल गुरुङ यतिमा अनुबन्ध, यति गोल, सर्वाधिक गोलकर्ता, नेपाली फुटबलमा धेरै उपाधि जितें, धेरै रेकर्ड बनाएँ । धेरै राम्रो गरेको छु भन्ने महसुस हुन्छ,’ अनिलले भने । अनिल उनै खेलाडी हुन्, जो वर्षौंसम्म आमाले किनिदिएको रबरको गोटीवाला बुट लगाएर सहारा एकेडेमीमा ट्रेनिङ गर्थे । ‘त्यो बुट च्यातिएर सिलाउँदै पनि धेरै लगाएर खेलें,’ उनले भने । उनले ए डिभिजन लिगको डेब्यू सिजन बीबीसीबाट बोनससहित १२ हजार थापेका थिए । ‘त्यो कमाइले विशालबजारमा सपिङ गरे, आधा पनि सकिएन । अनि घर गएर आमालाई ४ हजार दिएँ,’ उनले पहिलोपल्टको आम्दानी सम्झिए ।
बीबीसीमा प्रतिखेल ५ सय रुपैयाँ । थ्रीस्टारमा मासिक ६ हजार । मनाङमा मासिक १२ हजार । २०६४ सालमा एनआरटी (न्युरोड टिम) मा पुग्दा अनिलको पारिश्रमिक भयो मासिक २६ हजार । नेपालकै सबभन्दा महँगा फुटबलर बनेपछि उनको चर्चा झनै चुलियो । २०६६ कात्तिकमा आई लिग क्लब सिलोङ लाजोङ पुगे, जहाँ उनले भारु ३९ लाख ७५ हजार (६३ लाख ६० हजार रुपैयाँ) को तीनवर्षे सम्झौता गरे । यो नेपाली खेलाडीको कीर्तिमानी पारिश्रमिक थियो ।
‘मासिक २६ हजारले स्तब्ध भए नि ∕ किनकि प्रतिखेल ५ सयबाट खेल्न सुरु गरेको मैले ६ हजार, १२ हजारबाट एकैपल्ट २६ हजार पाउने आसै गरेको थिइनँ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) विवादका कारण तीन वर्ष लिग नभएको अवस्थाको सुरुमा एनआरटी पुगेका उनले भने, ‘पैसा त पाइहालें तर त्योअनुसार कसरी प्रदर्शन गर्ने भन्ने दबाब मलाई भएको थियो ।’
अघिल्लो सिजन (२०६३) सर्वाधिक गोलकर्ताको पाएको बाइक चढेर काठमाडौं आइरहेको बेला अनिलले थ्रीस्टारमा आबद्ध हुने वचन दिएका थिए । थ्रीस्टारका गोलकिपर सञ्जीव श्रेष्ठ बालाजु बसपार्कमा अनिलको प्रतीक्षा गरिरहेका थिए । तर, अनिललाई थानकोटबाटै एनआरटीका कप्तान सुरेन्द्र श्रेष्ठसहितले त्रिपुरेश्वरस्थित क्लबको कार्यालयमा पुर्‍याए । थ्रीस्टारका तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठले उनलाई निरन्तर फोन गरिरहेका थिए । उनको मोबाइल नै अफ भयो ।
त्यसबेला मनाङमा मासिक २१ हजार माग गरिरहेका अनिलले भने, ‘एनआरटीमा दाइहरूले मलाई कति लिने (तलब) डिमान्ड गर, त्यति नै दिन्छु भन्नुभयो । त्यसैमा म खुसी भए, डिमान्ड गर्नैपरेन ।
अनि मासिक २६ हजार दिने भने । १७–१८ हजार दिएको भए मनाङमै बस्थें ।’ क्लब परिवर्तन गर्दाको तीतो अनुभव पनि उनीसँग छ । भने, ‘मैले धेरै मिहिनेत नगरेको भए राष्ट्रिय टिमबाट हटाइसक्थे (धेरै पहिला) होला ।’