You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

नियमावली थन्क्याएर कित्ताकाट !

- कान्तिपुर संवाददाता

(काठमाडौं) - तीन वर्षदेखि रोकेको जमिन कित्ताकाट प्लटिङ र घडेरी बेचबिखनमा संलग्न व्यवसायीलाई लाभ पुग्ने गरी सरकारले फुकुवा गरेको छ । भू–उपयोग ऐनअनुसार जमिनको वर्गीकरण गर्नेलगायतका प्रावधान कार्यान्वयन गर्न बनेको नियमावली मन्त्रिपरिषद्मा विचाराधीन रहेकै बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खण्डीकरणको बाटो तत्काललाई खुला गरिदिएको हो ।
संसद्ले एक वर्षअघि पारित गरेको ऐनमा सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू–उपयोग परिषद्ले जमिनको वर्गीकरण र उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयन गर्ने नियमावली जारी नहुँदै कित्ताकाट फुकुवा गरेको मन्त्रालयले सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन तथा सर्वसाधारणको व्यावहारिक समस्यालाई आधार मान्नुपरेको तर्क गरेको छ ।
तत्कालीन भूमि व्यवस्थामन्त्री गोपाल दहितले कृषियोग्य जमिन खण्डित हुन नदिने भन्दै २०७४ मा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले २०७५ पुसमा केही प्रावधान परिवर्तन गरेर त्यही निर्णयलाई निरन्तरता दिएकी थिइन् । तर अहिले उनले नै मन्त्रीस्तरीय निर्णय गरेर कित्ताकाट फुकुवा गरेकी हुन् । बिहीबारको उक्त निर्णयबाट कित्ताकाटसम्बन्धी विगतका निर्णयहरू खारेज भएका छन् । ऐन कार्यान्वयन गर्नुको सट्टा कित्ताकाट फुकुवा गरिनुले जमिनको खण्डीकरण फेरि सुरु हुने चिन्ता भूमिविज्ञ र मन्त्रालयका अधिकारीहरूले व्यक्त गरेका छन् । ऐनअनुसार जमिनलाई कृषि, वन, उद्योग, व्यावसायिक, खानी, नदीनाला, सार्वजनिक उपयोगसमेत गरी १० भागमा वर्गीकरण गर्नुपर्छ ।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन, सुझाव र सर्वसाधारणको व्यावहारिकतालाई ख्याल गरेर कित्ताकाटसम्बन्धी पूर्वनिर्णयहरू खारेज गरिएको बताए । कानुन र स्थानीय तह सञ्चालन ऐनलाई आधार मानेर कित्ताकाट गर्न सक्ने गरी निर्णय गरेको उनको भनाइ छ । ‘अंशबन्डा गर्न पनि चोरबाटो अपनाउनुपर्ने अवस्थाले सर्वसाधारणले दुःख पाएका छन्,’ उनले भने, ‘कित्ताकाट गरेर जथाभावी रूपमा जमिन टुक्र्याउन यस्तो निर्णय गरिएको होइन । स्थानीय तहले जमिनको वर्गीकरण गरेर मात्र सिफारिस दिन्छन् भन्ने विश्वास लिएका छौं ।’
मन्त्रालयले शुक्रबार मातहतका निकायमा गरेको परिपत्रमा भनिएको छ, ‘कृषियोग्य जमिनको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ ।’ भू–उपयोग नियमावली जारी भएर त्यसको नक्सा एवं डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोहीअनुसार हुने भन्दै मन्त्रालयले कानुनको परिधिमा रहेर कित्ताकाट खुलाउनू भन्ने व्यहोराको पत्र मातहत निकायमा पठाएको छ । ऐनमा प्रारम्भ भएको एक वर्षभित्र प्रत्येक स्थानीय तहको भू–उपयोग नक्सा तयार गरी वा गर्न लगाई मन्त्रालयले हस्तान्तरण गर्नुपर्ने प्रावधान छ ।
ऐनको दफा ८ मा एउटा प्रयोजनका लागि
छुट्याएको जमिनलाई अन्य क्षेत्रका लागि प्रयोग गर्न नहुने व्यवस्था छ । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले नीति बनाउनुपर्छ । सरकारले उपलब्ध गराएको नक्सा स्थानीय भू–उपयोग परिषद्ले आवश्यकताअनुसार अध्यावधिक गरेर लागू गर्नुपर्नेछ । तर मन्त्रालयको पछिल्लो निर्णयबाट कित्ताकाट हुन नसकेर रोकिएको जमिनको बिक्रीका लागि बाटो खुलेको छ । प्लटिङ र घडेरी बेचबिखनमा संलग्न व्यवसायीले आफूहरूको लगानी डुबेको भन्दै कित्ताकाट खुलाउन पहल गरिरहेका थिए । मन्त्रालयबाट भएको यो निर्णयले उनीहरूलाई सजिलो बनाइदिएको छ ।
तत्कालीन मन्त्री दहितले खण्डीकरण रोक्न, व्यवस्थित बस्ती बसाल्न र कृषिउपज बढाउन सर्वोच्च अदालतको परमादेशसमेतलाई ख्याल गरेर कित्ताकाट रोकेका थिए । अहिले फुकुवा गर्दा कित्ताकाट रोक्ने बेला राखेको उद्देश्य पूरा भएको छ/छैन आफूलाई जानकारी नभएको दहितले बताए । उनले भने, ‘सरकारले कुनै नयाँ योजना ल्याएर गरेको हो भने भने ठीकै छ, होइन भने फेरि पहिले जस्तै खण्डीकरण रोकिँदैन ।’ उनले निर्णय ठीक/बेठीक सरकारको नियतमा भर पर्ने बताए ।

मन्त्रालयको निर्णयले अब देशभरका जमिनको कित्ताकाट, प्लटिङ र बेचबिखन बढाउनेछ । मन्त्रालय स्रोतका अनुसार नापीले सबै स्थानीय तहको भूमिसम्बन्धी नक्सा तयार गरिसकेको छैन । ‘बनेर पठाइएका नक्साहरू पनि स्थानीय तहले हेरेकै छैनन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘कित्ताकाट खुलाउने निर्णय लिन किन हतार गरियो बुझ्न सकिएन ।’ ती अधिकारीले निर्णयलाई थप स्पष्ट नगर्ने हो भने विगतको जस्तै जथाभावी रूपमा हुने जमिनको खण्डीकरण मौलाउने बताए ।
मन्त्रालयले विगतमा कृषियोग्य जमिन वर्षमा एकपटक दुई कित्ता मात्र हुनेगरी कित्ताकाट गर्न पाइने निर्णय गरेको थियो । त्यसका लागि स्थानीय तहको मातहतमा रहेका कृषि, वन, नापी, सहरी विकासका प्रतिनिधि सहभागी पाँच सदस्यीय समितिको सिफारिस चाहिन्थ्यो । उक्त समितिको सिफारिस लिने क्रममा पनि आर्थिक चलखेललाई टेवा दिएको गुनासो सार्वजनिक भएको थियो ।
तत्कालीन मन्त्री दहितले पनि ठूला व्यवसायीलाई फाइदा पुग्नेगरी निर्णय गरेको भन्दै टिप्पणी गरिएको थियो । उनले मापदण्ड पूरा गर्ने उद्योगी, व्यवसायीले जमिनलाई उचित ढंगले प्रयोजन गर्ने सर्तमा अनुमति दिएको स्वीकारे । ‘राज्यले तोकेका सबै मापदण्ड पूरा गर्नेलाई रोक्ने कुरा भएन । त्यसलाई गलत ढंगले बुझ्नु हुँदैन,’ उनले भने । अहिले मन्त्रालयले रोके पनि विभिन्न बहानामा कित्ताकाट भइरहेको भूमि व्यवस्थाकै कर्मचारी स्विकार्छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘विभिन्न बहनामा अहिले पनि कित्ताकाट रोकिएको थिएन ।’ अख्तियारमा मालपोत कार्यालयका कर्मचारीले आर्थिक चलखेल गरेर कित्ताकाट गरिरहेको उजुरी परेको थियो । कित्ताकाट रोकिएपछि झन् मालपोतका कर्मचारीलाई पैसा कमाउने बाटो खुलेको भनाइ सर्वसाधारणबाट आउन थालेको अख्तियार स्रोतको भनाइ छ ।
सर्वोच्च अदालतले २०७४ चैतमा कानुन बनाएर जनतालाई असुविधा नहुने गरी कित्ताकाट फुकुवा गर्न भनेको थियो । जग्गा व्यवसायीहरूले कित्ताकाट सुविधामा कडाइ गरेको भन्दै भूमि मन्त्रालयको सबै निर्णय र निर्देशन खारेजीको माग गर्दै सर्वोच्चलाई गुहारेका थिए । सर्वोच्चले कृषियोग्य जमिन बचाउने सरकारी निर्णको बचाउ गर्दै कित्ताकाटको सम्बन्धमा कानुन बनाएर लागू गर्न भनेको थियो । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले त्यतिबेला सर्वोच्चले सर्वसाधारणलाई मर्का नपर्ने गरी कित्ताकाटको काम गर्न भनेको स्मरण गरे ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गत असार ५ गते मन्त्रालयको निर्णय पुनरावलोकन गरी कित्ताकाट खुलाउन १० बुँदे सुझाव दिइएको थियो । अख्तियारले कित्ताकाट रोक्ने मन्त्रालयको निर्णयले झन् अनियमितता बढाएको र जटिलता थपेको निष्कर्ष निकालेको थियो । सुकुम्बासी समस्या समाधान आयोगका सदस्य तथा भूमि अधिकारकर्मी जगत देउजाले भू–उपयोग नियमावली पारित नहुँदै कित्ताकाट खुला गर्दा आउने समस्याप्रति चनाखो हुनुपर्ने बताए । उनले नियमावली पारित गरे स्थानीय तहले त्यहीअनुसार बनाउने भू–उपयोग नीति कार्यान्वयनमा लाग्नुपर्ने सुझाव दिए । उनले भने, ‘यसमा स्थानीय तहले भू–उपयोगसम्बन्धी योजना तर्जुमा गर्नु जरुरी छ ।’
भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जोशीले भू–उपयोगसम्बन्धी ऐन जारी भएकाले नियमावली नआउन्जेल प्रचलित कानुनअनुसार कित्ताकाट गर्न सकिने प्रस्ट पारे । कानुन मन्त्रालयको समेत राय लिएर नियमावली मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिँदै उनले भने, ‘नियमावली पारित भएपछि त्यहीअनुसार हुनेछ ।’ नियमावली आएपछि स्थानीय तहले भू–उपयोग नीति बनाउन सक्नेछन् । मन्त्रिपरिषद्बाट नियमावली कहिले पारित हुन्छ, यकिन छैन । भू–उपयोगसम्बन्धी विधेयक २०७६ साउनमा संसद्बाट पारित भएको थियो । प्रवक्ता जोशीका अनुसार भू–उपयोग डाटा र नक्सा तीन सय ५३ वटा स्थानीय तहमा हस्तान्तरण भएको छ । एक सय ६२ स्थानीय तहको तयारी भए पनि कोभिड–१९ को संक्रमण बढेका कारण हस्तान्तरण हुन नसकेको उनले बताए । उनले दुई सय २१ स्थानको भने तयार भइनसकेको जानकारी दिए ।

 

मुख्य पृष्ठ

'कोरोनालाई हल्का नलिऔं’

संक्रमणमुक्त चिकित्सक भन्छन्– ‘यो भाइरस केही होइन भन्नेहरु एकपल्ट आइसोलेसनका बिरामीहरुको हालत हेर्नुहोला’
- ठाकुरसिंह थारू,अमृता अनमोल

(नेपालगन्ज/बुटवल) - ‘कोरोना केही होइन । सामान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन । त्यसै ठीक हुन्छ ।’ १४ दिन आइसोलेसन बसाइपछि घर फर्किएका अधिकांशले सामाजिक सञ्जालमा पोस्ट गर्ने यस्ता सन्देशले सर्वसाधारणमा भ्रम सिर्जना गरेको संक्रमणमुक्त भएका चिकित्सकहरूले बताएका छन् । यस्तो सन्देशले कोरोनाविरुद्ध अपनाउनुपर्ने सतर्कतामा पनि कमी आएको उनीहरूको बुझाइ छ ।
‘अफवाह फैलाइएजस्तो कोरोना कमजोर भाइरस होइन, यसले ज्यानै पनि लिन सक्छ,’ उपचारमा खटिने क्रममा संक्रमित भएका भेरी अस्पतालका कोरोना स्रोत व्यक्ति फिजिसियन डा. संकेत रिसालले भने, ‘भाइरसको आक्रमण मैले झेलें । यो चानचुने होइन रहेछ ।’ कोरोना संक्रमितहरूको उपचारमा खटिएका उनलाई दुई साताअघि एक्कासि उच्च ज्वरोले च्याप्यो । सहनै नसक्ने गरी टाउको दुख्यो । ज्वरो नियन्त्रण नभएपछि पीसीआर परीक्षण गराए । ल्याबले कोरोना संक्रमण पुष्टि गर्‍यो । तीन दिनसम्म ज्वरोले छोडेन । जिब्रोमा बिबिरा आए । शरीर दुखेर काँठियो । श्वास लिन समस्या भयो । दुई साताको पीडापछि उनी संक्रमणमुक्त भई फेरि संक्रमितहरूको उपचारमा खटिएका छन् ।
अस्पतालकै आइसोलेसनमा १४ दिन बसेका उनी गत शनिबार कोरोना जित्न सफल भएका हुन् । ‘मान्छेहरू अझै पनि कोरोना भाइरसको संक्रमणलाई मजाकका रूपमा लिइरहेका छन् । यो सामान्य हुँदै होइन । सबै गम्भीर बनेमात्रै कोरोनासँग लड्न सकिन्छ,’ डा. रिसालले भने, ‘आइसोलेसनबाट फर्किएपछि कोरोनाविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । यसले आममानिसलाई गलत सन्देश दिइरहेको छ ।’ खासगरी लक्षण नदेखिएका संक्रमितबाट गलत सन्देश प्रवाह भइरहेको उनको बुझाइ छ । कोरोना भाइरस कम लोड हुँदा केही व्यक्तिमा त्यसको लक्षण नदेखिन सक्छ तर लक्षण देखिएका संक्रमितको अवस्था जटिल हुन सक्छ । भेरी अस्पतालमा उपचार भइरहेका तीन संक्रमितको अवस्था गम्भीर छ । डा. संकेतसँगै भेरी अस्पतालमै कार्यरत उनकी श्रीमती डा. उर्मिला रिसाललाई पनि कोरोना संक्रमण देखिएको थियो । ‘रोगलाई पनि हामीले मजाकमा लिन थालेपछि अवस्था गम्भीर बन्दै गएको हो,’ उनले भने ।
कोरोना संक्रमितहरूको उपचारमा खटिँदै आएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा मेडिकल विभाग प्रमुख फिजिसियन डा. राजन पाण्डे पनि संक्रमित भए । १४ दिनको आइसोलेसन बसाइपछि शनिबार उनी निको भएर उपचारमा खटिएका छन् । उनका अनुसार कोरोना भाइरसबारे समुदायमा गलत सन्देश प्रवाह हुँदा सर्वसाधारणले सतर्कता अपनाउन छोडेका हुन् । ‘विश्वका विकसित मुलुकहरू कोरोनाको महामारीले आक्रान्त बनेका छन् तर हामीकहाँ सबैजसो आफैं डाक्टर भएर कोरोनाबारे आफ्नो धारणा राखिरहेका छन्,’ उनले कान्तिपुरसँग भने ।

‘स्वास्थ्य मन्त्रालयले घोषणा गर्ने काम हामीले गरिरहेका छौं । यसले कोरोनाको महामारीलाई थप मलजल पुगिरहेको छ,’ उनले भने ।
उनले कोरोना भाइरसबारे गलत सन्देश प्रवाह गर्नेलाई कारबाहीको माग गरे । ‘कोरोना भाइरसबारे अफवाह फैलाउनेलाई कानुनी कारबाही गर्नैपर्छ,’ उनले भने । भेरी अस्पतालका ८ चिकित्सकसहित २५ स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन् । ‘कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला गलत प्रचारप्रसार गर्नेलाई कारबाही गर्नुपर्छ,’ डा. पाण्डेले भने, ‘लापरबाहीका कारण एक जनाको पनि मृत्यु भयो भने उसको परिवारमा के गुज्रिन्छ, ख्याल गरेका छौं ?’ उनले कोरोना भाइरस केही होइन भन्नेहरूलाई आइसोलेसनमा रहेका बिरामीको अवस्था हेर्न आग्रह गरे ।
त्यस्तै शिक्षण अस्पताल नेपालगन्जका चार चिकित्सकसहित ५८ स्वास्थ्यकर्मीमा संक्रमण देखिसकिएको छ । उक्त अस्पतालमा एक सय शय्याको कोरोना विशेष अस्पताल बनाइएको छ । अस्पतालमा कार्यरत रहेका बेला कोरोनाबाट संक्रमित बालरोग विशेषज्ञ डा. रोमा बोरले पछिल्लो समय भाइरसबारे अनेक हल्ला फिँजिएको बताइन् । ‘मलाई ५ दिनअघि नै कोरोनाको लक्षण देखिन थालेको थियो, पीसीआर परीक्षणपछि पुष्टि भयो,’ उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार नै कोरोनाको उपचार हुनुपर्छ तर यो रोग नै होइन भन्ने हल्लाले गलत म्यासेज दिइरहेको छ ।’

 

मुख्य पृष्ठ

किशोरीको काँधमा ५ बहिनीको जिम्मेवारी

- तृप्ति शाही

(बैतडी) - सदरमुकामको गोठालापानीबाट आधा घण्टाको सडक दूरीमा दशरथचन्द नगरपालिका–१० सत्पाली गाउँ पुगिन्छ । पाँच मिनेट ओरालो झरेपछि खोला छेउमा एककोठे जीर्ण घर छ । त्यही साँघुरो र अँध्यारो घरमा दुई वर्षदेखि बसिरहेका छन्, ६ जना बालिकाहरू ।
तीन वर्षअघि आमा मीनादेवी लावड बेपत्ता भइन् । आमा भागेको अर्को वर्ष बुबा राजुरामको मृत्यु भएपछि नीलम लावडसहित ६ बालिका बेसहारा भए । १३ वर्षमुनिका पाँच बहिनीको सहारा बन्दै आएकी जेठी नीलम अहिले १५ वर्षकी भइन् । नीलमले मागेरै भए पनि सबै बहिनीको पालनपोषण गरिरहेकी छन् । नीलमपछिकी बहिनी १३ वर्षीया नीतु छिन् । त्यसपछिका बहिनीहरू १२, १०, ९ र ४ वर्षका छन् । ‘एक वर्षकी बहिनीलाई आमाले छोडेर गइन्,’ नीलमले भनिन्, ‘बुबा बिरामी भएर उठ्न नसक्ने भएपछि मैले पाउनुसम्म दुःख पाएँ । गाउँमा मागेरै भए पनि बहिनीहरूको भोक मेटाइरहेकी छु । औषधि गर्ने पैसा भए बुबा पनि बाँच्थे कि !’
मागेरै ६ जनाको परिवार पाल्नुपरे पनि हिम्मतिली नीलमको साहस भने गज्जबको छ । उनले बिहान–साँझ गाउँघरमा मागेर र बिदाका दिन कसैको गोठालो गएर खानेकुरा जुटाउँछिन् । बाँकी समय स्कुल पढ्छिन् । गाउँकै विद्यालयमा ८ कक्षामा पढ्ने उनले कान्छी बहिनीबाहेक सबैलाई स्कुल भर्ना गरेकी छन् । उनका दुई बहिनी ५ कक्षा पढ्छन् भने दुई जना ३ कक्षामा छन् ।

उनीहरू आलोपालो गरेर चार वर्षीया बहिनीको हेरचाह गर्न एक जना घरमै बस्छन् । पालो लगाएर नीलम र नीतु गाउँलेको काम गर्दै साँझ–बिहानको खानेकुरा जुटाउँछन् ।
नियमित स्कुल जान नपाएका कारण सबैको पढाइ कमजोर छ । यद्यपि पढेर ठूलो मान्छे बन्ने सपना उनीहरूको छ । ‘अरूले दिएका झुत्रा कपडा टालटुल गरेर लगाइरहेका छौं । भनेको बेला कापीकलम किन्ने पैसा हुँदैन,’ नीतु भन्छिन्, ‘दिदीबहिनी पालैपालो स्कुल जाने गरेका छौं । पढ्यो भने कुनै दिन त सुख होला नि ।’
उनीहरूको दुःख र समस्या बुझेर स्कुलले पढाइ निःशुल्क गरेको छ । नगरपालिकाले पनि कहिलेकाहीं कापीकलम र खाद्यान्न सहयोग गर्दै आएको छ । ‘नगरपालिकाले दुई बोरा चामल सहयोग गरेका बेला दुई महिना ढुक्कले स्कुल गयौं,’ नीलमले भनिन्, ‘त्यो सकिएपछि फेरि खानकै चिन्ता हुन्छ ।’ आफूहरू कति दिन भोकै सुते पनि सानी बहिनीहरूले भोक लाग्यो भनेर रुँदा साह्रै पीडा हुने गरेको उनले बताइन् ।
नगरपालिकाले बेलाबेलामा आर्थिक र खाद्यान्न सहयोग गरे पनि त्यो पर्याप्त र दिगो नभएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास अधिकृत विनोदबहादुर चन्दले बताए । ‘कार्यालय र धेरै पटक मैले व्यक्तिगत रूपमा पनि सहयोग गरेको छु,’ चन्दले भने, ‘अरूकै सहयोगको भरमा मात्रै यत्रो परिवार कसरी चल्नु, कुनै संघसंस्थाले सबै बहिनीको शिक्षा र पालनपोषणको सहयोग गरे राम्रो हुने थियो ।’
केही समयअघि उनीहरूको समस्या थाहा पाएर प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी पनि भेट्न गएका थिए ।
बालिकाहरूलाई दिगो व्यवस्थापनका लागि पहल गरिरहेको उनले बताए । ‘अहिले विद्यालय पनि बन्द छन् । सञ्चालनमा आएपछि कतै सरकारी छात्रावासमा राखेर, त्यहीं पढ्ने गरी व्यवस्थापन गर्नॅपर्ला,’ प्रजिअ जोशीले भने । आइतबार बैतडीस्थित हनुमानध्वज गुल्मका गुल्मपति प्रवीन थापाले आफ्ना छोराको जन्मदिनमा उनीहरूलाई ओढ्ने–ओछ्याउने लुगा र खानेकुरा सहयोग गरेका थिए ।

 

Page 2
समाचार

समुदायमा संक्रमण बुझ्न ॅसेरोप्रिभेलेन्स’

- स्वरूप आचार्य

(काठमाडौं) - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले समुदायमा कोरोना भाइरस संक्रमणको अवस्थाबारे जान्नका लागि छुट्टाछुट्टै रूपमा ‘सेरोप्रिभेलेन्स’ अध्ययन गर्ने भएका छन् । दुवै अध्ययनका लागि एनएचआरसीको इथिकल कमिटीमा प्राप्त प्रस्ताव आइतबार अनुमोदन भएको हो । सेरोप्रिभेलेन्स समुदायमा संक्रमणको अवस्था पत्ता लगाउने विधि हो ।
ईडीसीडीले पहिलो चरणमा प्रत्येक प्रदेशमा ४ सय ५० जनाका दरले ३ हजार १ सय ५० जनाको एन्टिबडी परीक्षण गर्नेछ । सेरोप्रिभेलेन्स टेस्टका लागि सातै प्रदेशमा विभिन्न मापदण्डका आधारमा निर्धारण गरिएको स्थानबाट निश्चित व्यक्तिका रगतको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिने छ । ‘हामीले सेरोप्रिभेलेन्स अध्ययन गरेर समुदायमा कुन संक्रमणको दर हेर्न खोजेका हौं, सबै काम द्रुत गतिमा अगाडि बढिरहेको छ,’ ईडीसीडीका महानिर्देशक डा. वासुदेव पाण्डेले भने ।
एनएचआरसीले भने काठमाडौं उपत्यकाभित्र सय जनाभन्दा बढी कार्यरत रहेका अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीका साथै तिनका परिवारको समेत एन्टिबडी परीक्षण गर्नेछ । एनएचआरसीले बनाएको मापदण्डअनुसार ७ सय ८४ जना स्वास्थ्यकर्मी तथा स्नोबल स्याम्पलिङका आधारमा ७ सय ८५ जना स्वास्थ्यकर्मीको परिवारका सदस्यको परीक्षण हुनेछ । एनएचआरसीले संकलन गरेको नमुना भने कुनै एक सरकारी अस्पतालमा परीक्षण गरिने छ । 

‘ईडीसीडीले समुदायको परीक्षण गर्ने भएपछि हामीले स्वास्थ्यकर्मी र तिनका परिवारमा मात्र केन्द्रित भएर सेरोप्रिभेलेन्स अध्ययन गर्न लागेका हौं,’ एनएचआरसीका कार्यकारी प्रमुख तथा सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘आइतबार दुवै अध्ययनका लागि इथिकल कमिटीले प्रस्ताव अनुमोदन गर्‍यो ।’
 उनका अनुसार चैत ११ पछि काठमाडौं उपत्यका छोडेर बाहिर नगएका स्वास्थ्यकर्मी र तिनका परिवारलाई मात्र यो अध्ययनमा सामेल गराइनेछ ।
चार चरणमा हुने यस अध्ययनको पहिलो चरणमा स्वास्थ्यकर्मीको नमुना संकलन गरिनेछ भने त्यसको सातापछि मात्र परिवारका सदस्यको नमुना संकलन गरिनेछ । स्वास्थ्यकर्मीको पुनः ३ र ६ सातामा नमुना संकलन गरेर अध्ययनलाई मूर्त रूप दिइनेछ । ईडीसीडीले सेरोप्रिभेलेन्स अध्ययनका लागि एन्टिबडी परीक्षण गर्न ईएलआईएसए (इन्जाइम लिंक्ड इम्युनोअब्जर्बेन्ट एस्से) विधि प्रयोग गर्ने छ भने एनएचआरसीले अध्ययनका लागि सीएलआईए (केमिल्युमिनिसेन्ट इम्युनोएस्से) विधि अपनाउने छ ।
ईडीसीडीस्थित स्रोतका अनुसार ईएलआईएसए विधिबाट परीक्षण गर्न आवश्यक पर्ने रिएजेन्ट सहयोग स्वरूप प्राप्त गर्नका लागि विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले विभिन्न मित्रराष्ट्रसँग छलफल गरिरहेको छ । भारत, दक्षिण कोरिया, चीन र अमेरिकालगायत देशलाई सहयोगका लागि पत्राचार गरिएको छ । अध्ययनका लागि नमुना संकलन गर्ने संकलक खटाउन विश्व स्वास्थ्य संगठनले मंगलबार एक संस्था छनोट गर्दै छ । उक्त संस्थाले फिल्डमा खटाउने कर्मचारीलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा ईडीसीडीले तालिम दिएपछि नमुना संकलनको काम सुरु हुनेछ । सबै काम सकेर असोज १ तिर नमुना संकलन गर्न फिल्डमा सबै जना खटिने तयारी छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार ईडीसीडीले गर्ने परीक्षणमा प्रयोगशालाका तर्फबाट ईएलआईएस गर्ने मेसिन र जनशक्ति मात्र प्रदान गर्न लागेको हो । ‘ईडीसीडीले ल्याएर दिएको नमुना हामीले परीक्षण गरिदिने हो, अहिलेसम्म ईएलआईएसए विधिबाट परीक्षण गर्ने तय भएको छ,’ उनले भनिन्, ‘उक्त परीक्षणमा प्रयोग हुने रिएजेन्ट पनि उहाँहरूले नै दिनुहुन्छ । त्योभन्दा बढी मलाई पनि केही थाहा छैन ।’
एनएचआरसीले गर्ने अध्ययनका लागि आवश्यक पर्ने सीएलआईएको रिएजेन्ट कुन प्रयोग गर्ने भन्ने मापदण्ड बनाइएको र सोहीअनुसार खरिद प्रक्रिया अगाडि बढाउने सदस्य सचिव डा. ज्ञवालीले जानकारी दिए । ‘हामीले कस्तो खालको रिएजेन्ट प्रयोग गर्ने भनेर पनि मापदण्ड तय गरेका छौं, सोहीअनुसारको सामग्री लिएर प्रयोग गर्छौं,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ प्रविधि तथा परीक्षण नेपालमा प्रयोग गर्नेसम्बन्धी सुझाव दिनका लागि गठन गरेको ‘एच–टेक कमिटी’का सदस्यका अनुसार सो कमिटीले ईएलआईएसए वा सीएलआईए (केमिल्युमिनिसेन्ट इम्युनोएस्से) मध्ये जुन गरे पनि हुने भनेर सुझाव दिएको थियो । ती सदस्यका अनुसार ईएलआईएसएभन्दा सीएलआईए नयाँ प्रविधि हो । परीक्षणको हिसाबमा पनि सीएलआईएको प्रभावकारिता ईएलआईएसएभन्दा केही बढी देखिएको छ । ‘हाम्रो कमिटीको काम सुझाव दिने मात्रै हो, हामीले निर्देशन दिन मिल्दैन,’ एक सदस्य भने, ‘यो प्रविधि राम्रो छ भनेर सुझाव दिनुको अर्थ बुझ्नेले आफैं बुझ्नुपर्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार भने सेरोप्रिभेलेन्स परीक्षणका लागि धेरै समय खेर गइसकेको छ । त्यसैले हाल नेपालमा ईएलआईएसए र सीएलआईएमध्ये जुनको गुणस्तरीय रिएजेन्ट सजिलैसँग प्राप्त हुन्छ, त्यही प्रयोग गरेर परीक्षण गरिहाल्नु उचित हुन्छ । ‘जहिल्यै अन्तिम समयमा आएर कहाँबाट कसले दिन्छ भनेर कुरेर बस्नु हुन्न,’ उनले भने, ‘समय घर्किएपछि गरेर केही अर्थ हुँदैन । त्यसैले अन्यत्र देशसँग हात फैलाउनुभन्दा देशभित्र के उपलब्ध छ, त्यो पनि खोजखबर गरे राम्रो हुन्छ ।’ बेलायतबाट प्रकाशित हुने विश्व प्रसिद्ध ब्रिटिस मेडिकल जर्नलमा एन्टिबडी परीक्षणका लागि प्रयोग हुने विभिन्न विधिको प्रभावकारिताबारे प्रकाशित विभिन्न ४० वैज्ञानिक लेखहरूको समीक्षा तथा सूक्ष्म विश्लेषणअनुसार एन्टिबडी परीक्षणका लागि सबैभन्दा बढी उपयुक्त सीएलआईए देखिएको दाबी गरिएको छ । त्यसपछि ईएलआईएसए र अन्तिममा एलएफआईए (ल्याटरल फ्लो इम्युनोएस्से) देखिएको उल्लेख छ । यसअघि विवादमा तानिएको आरडीटी किटमा एलएफआईए विधिबाट नै परीक्षण हुने गर्छ ।

ईडीसीडी तथा एनएचआरसीले गर्न लागेको सेरोप्रिभेलेन्स टेस्टमा समुदायमा गएर संकलन गरिएको रगतको नमुनामा इम्युनोग्लोब्युलिन जी (आईजीजी) छ या छैन भनेर हेरिनेछ । सकेसम्म आईजीजीको क्वान्टिटेटिभ परीक्षण गर्ने तय गरिएको छ । ‘आईजीजी छ या छैन भनेर मात्रै होइन, कति छ भनेर पनि हेर्ने भन्ने छ,’ ईडीसीडी स्रोतले भन्यो, ‘तर त्यसका लागि किट पनि त्यहीअनुसारको चाहिन्छ । अहिलेसम्म कहाँबाट कुन किट आउने भन्ने तय भएको छैन ।’
एन्टिबडी परीक्षणमा रगतमा कुनै पनि संक्रमणविरुद्ध रोग प्रतिरोधी प्रोटिन छ या छैन भनेर हेर्ने गरिन्छ । यही प्रोटिनलाई एन्टिबडी भनिन्छ, जुन दुई प्रकारको हुन्छ– ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) र ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) । आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । अनि संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी उत्पादन गर्न थाल्छ । सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भयो भन्ने बुझिन्छ ।

समाचार

कोरोनाले थप १२ को मृत्यु

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कोरोना संक्रमणबाट सोमबार १२ जनाको मृत्यु पुष्टि भएको छ । सोमबार दिउँसो जिल्ला अस्पतालमा मृत्यु भएका कपिलवस्तु सदरमुकाम तौलिहवाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाका पुराना सञ्चारकर्मीसमेत रहेका उनी पाँच महिनायता मिर्गौलाको नियमित डायलसिस गराउँदै आएका थिए । भदौ ८ गते परिवारका एक सदस्यमा कोरोना पुष्टि भएपछि ११ गते उनीसहित ८ जनाको स्वाब संकलन गरिएको थियो । अन्य सदस्यको अझै रिपोर्ट नआएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय र गोलबजार नगरपालिका–३ जमदका ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मिर्चैयाका पुरुष ग्यास व्यवसायी हुन् । उनको आइतबार राति जनकपुरस्थित प्रादेशिक अस्पताल र गोलबजारका पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
एक सातादेखि उपचाररत पर्साको वीरगन्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको सोमबार नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका बिरामी उनको आईसीयूमा उपचार गरिएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको आइतबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । तीन वर्षदेखि मुटुका बिरामी उनी कोरोना पुष्टि भएपछि आफैंले पैसा तिर्ने होटलको आइसोलेसनमा बसेका थिए । उनी उपमहानगर कार्यालयका कर्मचारी हुन् । उनको मृत्यु भएपछि कार्यालय तीन दिन सिल गरिएको उपमेयर उमा थापा मगरले बताइन् । मोरङको विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको सोमबार बिहान विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । यस्तै, दोलखाका ६९ वर्षीय पुरुष, मकवानपुरका ३९ वर्षीय पुरुष, कास्कीकी ६३ वर्षीया महिला, काठमाडौंका ३७, ८३ र ९० वर्षका महिलाको पनि कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर सोमबार ९ सय ७९ जना थपिएसँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । ३० हजार ६ सय ७७ जना निको भइसकेका छन् । काठमाडौं उपत्यकामा भने सोमबार ३ सय २६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना थपिएको मन्त्रालयले जनाएको छ ।
होम आइसोलेसनमै निको भइन् ८६ वर्षीया मुटुरोगी
चितवन– राप्ती नगरपालिका–२ गड्यौलीकी ८६ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएकी छन् । मुटुको रोगीसमेत रहेकी उनी होम आइसोलेसनमा थिइन् ।
उनीसँगै छोरा, बुहारी र नातिनीलाई संक्रमण देखिएपछि सबै होम आइसोलेसनमै बसेका थिए । चारै जनाको थप परीक्षणका लागि बिहीबार स्वाब संकलन भएको थियो । जसको नतिजा नेगेटिभ आयो । भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालाले शनिबार राति सार्वजनिक गरेको नतिजामा उनीहरू कोरोनामुक्त भएको राप्ती नगरपालिकाका मेयर प्रभा बरालले जानकारी दिइन् । ‘साउन १९ गते आमा हेटौंडा जानुभएको थियो । त्यहाँबाट फर्केपछि संक्रमण भएको आशंका लागेर परीक्षण गरायौं । २१ गते स्वाब दिएका थियौं । १० दिनपछि नतिजा आयो । आमालाई संक्रमण भएको रहेछ,’ ५८ वर्षका छोराले भने ।
वृद्धालाई संक्रमण पुष्टि भएपछि छोरासहित ५१ वर्षकी बुहारी र २५ वर्षकी नातिनीको परीक्षण गराउँदा उनीहरूमा पनि संक्रमण भेटिएको थियो । त्यसपछि सबैलाई घरमै व्यवस्थापन गरेको राप्ती नगरपालिका–२ का अध्यक्ष श्यामसुन्दर उप्रेतीले बताए । छोराका अनुसार मुटुरोगी आमाले ६ वर्षदेखि औषधि खाइरहेकी छन् । ‘मलाई पनि सुरुमा पखाला लाग्ने र ज्वरो आउने भयो,’ उनले भने, ‘चाहिएको औषधि वडाध्यक्ष र छिमेकीलाई भनेर मगाएँ । दुई/चार दिनपछि सबैलाई सामान्य हुँदै गयो ।’ तुलसी, गुर्जो, ज्वानो, बाबरी, बेसारपानी जस्ता घरेलु औषधि पनि नियमित सेवन गर्ने गरेको उनले बताए ।
चितवन स्वास्थ्य कार्यालयका अनुसार आइतबार दिउँसोसम्म राप्ती नगरपालिकामा संक्रमितको संख्या ९७ पुगेको छ । निको हुने १२ जना छन् । चितवनमा सोमबार बिहानसम्म एक हजार ३८ जनामा संक्रमण देखिएको छ । निको हुने १ सय ८० जना छन् । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा ८० वर्ष नाघेका संक्रमितको संख्या तीन छ । जसमध्ये खैरहनीकी १०९ वर्षीया महिलाको निधन भएको थियो । चितवनमा पाँच महिनाको शिशुदेखि १०९ वर्षीया महिलासम्ममा संक्रमण देखिएको छ ।

समाचार

ट्राभल हिस्ट्री नभएकामा संक्रमण

- मोहन बुढाऐर

 (धनगढी) - दूरपश्चिम प्रदेशमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा कोरोना संक्रमण दर बढेको छ । पछिल्लो समय गृहिणी, वृद्धवृद्धा, बालबालिका, शिक्षक र व्यवसायीमा कोरोना पुष्टि भएको हो ।
प्रदेशकै ठूलो र बढी जनघनत्व भएको सहर धनगढीमा भदौयता ट्राभल हिस्टी नभएका १ सय ३१ जनामा संक्रमण देखिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए । धनगढीमा संक्रमितको संख्या ३ सय २ जना पुगिसकेको छ । कैलालीका गोदावरी, टीकापुर, लम्कीचुहा नगरपालिकामा पनि स्थानीयमा संक्रमणको दर बढेको छ ।
कैलालीमा हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको छ । जसमध्ये निको भइसकेकाको संख्या १ हजार ४ सय ३० जना छ । सक्रिय संक्रमितहरूको संख्या ४ सय ५० रहेको छ । कैलालीपछि डोटीमा संक्रमितको संख्या ९ सय ५५ पुगेको छ । अछाममा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा ६ सय ९५, बैतडीमा ३ सय ८१, बझाङमा ४ सय ३७, बाजुरामा ४ सय ५२, डडेलधुरामा ३ सय २१ र सबैभन्दा कम संक्रमण देखिएको दार्चुला जिल्लामा ५० जनालाई कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा ६८ हजार १ सय ३६ जनामा गरिएको पीसीआर परीक्षणमा ६ हजार १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५ हजार २ सय ४१ जना निको भएका पनि छन । मृत्यु हुनेको संख्या ११ छ । सुदूरपश्चिममा पहिलो संक्रमित चैत १४ गते देखिएको थियो । उनी यूएईबाट आएका थिए । उनीबाट परिवारकै भाउजू नाता पर्नेमा कोरोना सरेको थियो । जेठसम्म सुदूरमा कोरोना संक्रमितको संख्या ६ जनामा मात्रै सीमित थियो ।
जेठमै भारतसँगको अन्तर्राष्ट्रिय नाका खुलेपछि त्यहाँबाट १ लाख ५० हजारभन्दा बढी नेपाली सुदूरपश्चिम भित्रिए । त्यसपछि एकै महिना असारमा सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजारले नाघ्यो । कोरोना संक्रमण स्थानीयस्तरमा देखिन सुरु भयो । धनगढी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उपाध्यायका अनुसार अग्रमोर्चामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, क्वारेन्टाइन र नाकामा खटिएका कर्मचारी र जनप्रतिनिधिहरूबाट स्थानीयस्तरमा कोरोना संक्रमण फैलिन थालेको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले पनि भारत तथा अन्य देशबाट आएका संक्रमितहरू पछिल्लो पटक क्वारेन्टाइनमा नबसेर घर पसेकाले समुदायमा कोरोना प्रवेश गरिसकेको हुन सक्ने आशंका व्यक्त गरे । ‘अहिल्यै तथ्यमा समुदायमा सरिसकेको छैन,’ उनले भने, ‘विभिन्न नाकाबाट भारतदेखि आएकाहरू गाउँमा पसेकाले उनीहरूबाट समुदाय जोखिममा छ ।’

समाचार

रथ तान्ने झडपमा पक्राउ ६ जनामा कोरोना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपको सिलसिलामा पक्राउ परेका १८ जनामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार संक्रमण हुनेहरूको पक्राउ परेको भोलिपल्ट पीसीआर परीक्षण गरिएको थियो ।
‘पाटन अस्पतालबाट आइतबार आएको रिपोट पोजिटिभ देखिएको हो,’ उनले भने, ‘उनीहरूलाई उपचारपश्चात् पुनः प्रहरीको सम्पर्कमा आउने गरी घरपरिवारको जिम्मा लगाएका छौं ।’ उनले ललितपुर महानगरपालिका–६ का रवि शाक्यलाई भने मानसिक रोगबाट पीडित भएकाले छोडिएको बताए । प्रहरीले झडपको सिलसिलामा पक्राउ परेका १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको छ । आइतबार ललितपुर महानगरपालिका–१६ का प्रवीण शाक्य, ११ नम्बर इमुखेलका शुकबहादुर देउला र दलबहादुर देउलालाई भने प्रहरीले छाडेको छ ।

समाचार

संक्रमितको फोहोर व्यवस्थापनमा छैन सतर्कता

- सीमा तामाङ

(काठमाडौं) - काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने ७४ वर्षीय वृद्धलाई भदौ १७ मा कोरोना संक्रमण पुष्टि भयो ।
संक्रमण देखिएसँगै उनी होम आइसोलेसनमा छन् । आइसोलेसनमा बस्दा अन्य सबै सुरक्षा मापदण्ड पालना गरे पनि घरबाट निस्कने फोहोर भने पहिले जसरी नै नियमित रूपमा नगरपालिकाबाट आउने फोहोर संकलकलाई
दिइरहेका छन् ।
‘पहिला जसरी फोहोर दिन्थ्यौं, अहिले पनि त्यसरी नै दिइरहेका छौं,’ उनले भने, ‘छुट्टै बस्नू, अरूसँग घुलमिल नहुनूजस्ता कुरा बताए पनि फोहोर व्यवस्थापनका बारेमा केही भनेका छैनन् ।’ उनीजस्तै देशभर हाल ७ हजार १ सय ९० जना होम आइसोलेसनमा छन् । यो संख्या वाग्मती प्रदेशमा २ हजार ३ सय ३४ र काठमाडौं उपत्यकामा १ हजार ८ सय ६४ छ । उनीहरूमध्ये अधिकांशले ती वृद्धले जसरी नै फोहोर व्यवस्थापन गरिरहेका छन् ।
यसरी फोहोर व्यवस्थापन गर्दा सफाइ कर्मचारी तथा समुदायमा समेत कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारले समेत संक्रमितले प्रयोग गरेपछि निस्किएको फोहोर छुट्टै व्यवस्थापन गर्नुपर्ने गरी मापदण्ड नै बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार १९ मा ‘कोभिड–१९ महामारीको आपत्कालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन (अन्तरिम निर्देशन)’ जारी गरेको थियो । उक्त निर्देशिकामा घरायसी फोहोरलाई समेत नगरपालिकाका संकलकमार्फत पठाउनुभन्दा पहिले कम्तिमा ७२ घण्टासम्म सुरक्षित रूपमा राख्नुपर्दछ । यो समयसम्म भण्डारण गर्नाले फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरूलाई सम्भावित जोखिम धेरै मात्रामा घटाउन सकिने उल्लेख छ ।
निर्देशिकामा घरमा वा क्वारेन्टाइन केन्द्रहरूमा फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिहरूले पन्जा, मास्क र सुरक्षित कपडा (जस्तैः प्लास्टिकको एप्रोन) प्रयोग गर्नुपर्ने भनिएको छ । तर, सफाइ कर्मचारी पनि सुरक्षा सामग्रीबिनै फोहोर उठाइरहेका छन् । स्थानीय तह र निजी कम्पनी दुवैले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर दिएको दाबी गरे पनि फोहोर उठाउने कर्मचारीले प्रयोग गरेको देखिँदैन । फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्य (ध्रुव) ले कर्मचारीहरूलाई पीपीई दिए पनि लगाउन र काम गर्न असजिलो, गर्मी हुने तथा विभिन्न बहाना बनाएर प्रयोग नगरेको बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरस पातलो कागज, टिस्यु पेपरमा ३ घण्टासम्म रहन सक्छ ।
त्यस्तै, तामामा ४ घण्टा, कपडा, मोटो कागज, कार्डबोर्ड र काठमा २४ घण्टा, सिसामा ४८ घण्टा, स्टेनलेस स्टिल, प्लास्टिक र नोटमा ७२ घण्टा, मेडिकल तथा सर्जिकल मास्कको बाहिरी सतहमा ७ दिनसम्म भाइरस बाँच्न सक्छ । त्यहीअनुसार फोहोर व्यवस्थापन संघले पहिला हरेक २ तथा ३ दिनमा फोहोर उठाउने गरे पनि हाल सातामा एकचोटि मात्रै फोहोर उठाउने गरेको आचार्यले बताए ।
स्थानीय तहसँग सहकार्य गरेर होम आइसोलेसनमा बस्ने संक्रमितको पहिचान गरी त्यस्तो परिवारलाई ३ दिनपछि मात्र फोहोर निकाल्न आग्रह गर्ने भनिए पनि वडाले संक्रमितको पहिचान गर्न नमानेको उनले आरोप लगाए । ‘अहिले कुहिने फोहोरलाई घरमै व्यवस्थापन र नकुहिने फोहोर ३ दिनपछि मात्र निकाल्नका लागि माइकिङ, रेडियो तथा सामाजिक सञ्जालबाट आग्रह गरिरहेका छौं,’ उनले भने, ‘त्यो मान्नुभएको छ/छैन, हामीलाई पनि थाहा छैन ।’
संक्रमित फोहोरको व्यवस्थापन कसरी गर्ने ?
फोहोरमैला व्यवस्थापनसम्बन्धी सरकारको पछिल्लो निर्देशिकाले समेत सम्पूर्ण कोभिड–१९ संक्रमितसँग सम्बन्धित फोहोरमैलालाई संक्रमित फोहोरमैलाका रूपमा लिनुपर्ने भनेको छ । यसकारण सम्पूर्ण फोहोरमैलालाई (सामान्य अवस्थामा साधारण फोहोरको रूपमा लिइने फोहोरलाई पनि) रातो रङको बिनहरूमा संक्रमित फोहोरको रूपमा राष्ट्रिय निर्देशिकाअनुसार संकलन, ओसारपसार, भण्डारण, उपचार र विसर्जन गर्न भनिएको छ ।
निर्देशिकामा फोहोरको वर्गीकरणसमेत गरिएको छ । प्रशासनिक क्षेत्र र कुनै स्थान विशेषका फोहोरलाई असंक्रमित फोहोर र कोभिड–१९ बिरामीको स्याहारसुसारका क्रममा उत्पादन हुने सम्पूर्ण फोहोरलाई संक्रमित फोहोर मानिएको छ । संक्रमित फोहोरलाई स्पष्ट रूपमा ‘लेबल’ गरी ‘बायो हजार्ड ब्याग’ सहितका नफुट्ने, छिद्र नभएका भाँडाहरू (बिर्को भएका बिन, वाल्टिन) मा सुरक्षित तरिकाले संकलन गर्नुपर्दछ । त्यस्तै, अस्पतालहरूभन्दा बाहेकका स्थानहरू जस्तै, क्वारेन्टाइन केन्द्र, होल्डिङ क्षेत्र, आगमन बिन्दुमा प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरूलाई छुट्टै साँघुरो घाँटी भएको बायो हजार्ड झोलामा संकलन गरी मुख बाँधेर संकलन मितिसमेत लेखेर राख्नुपर्दछ । यस्तो फोहोर संकलन गर्दा थप उपचारको आवश्यकता नभए पनि झोलालाई ०.५ प्रतिशत क्लोरिनको झोलले पुछेर राख्दा सम्भावित संक्रमणको जोखिम कम हुन्छ । फोहोरमैला विशेषज्ञ तथा हेल्थ इनभारोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका कार्यकारी निर्देशक महेश नकर्मीले पनि होम आइसोलेसनमा बस्ने संक्रमितको परिवारलाई फोहोर व्यवस्थापनबारे जानकारी दिने र रातो रङको झोला दिनुपर्ने बताए । ‘छुट्टै रङको झोला दिएपछि फोहोर संकलकलाई पनि थाहा हुने र उनीहरूले पनि सुरक्षा अपनाएर संकलन गर्न सक्नेछन्,’ उनले भने ।
सरकारी निर्देशिकालाई कार्यार्न्वयन गराउन होम आइसोलेसनमा बस्ने संक्रमित र फोहोर संकलक दुवैलाई तालिम दिनुपर्ने उनले सुझाए । केन्द्र सरकारले निर्देशिका जारी गर्ने र स्थानीय सरकारले कार्यान्वयन गराउनुपर्ने भएकाले दुवै सरकारबीच समन्वय राम्रो भएको खण्डमा मात्र निर्देशिका कार्यान्वयन हुने उनको भनाइ छ । त्यस्तै, फोहोर संकलन गर्ने कम्पनीले पनि स्थानीय सरकारसँग समन्वय गरेर सामान्य फोहोर र होम आइसोलेसनबाट निस्कने फोहोरलाई छुट्टाछुट्टै संकलन गर्नुपर्ने उनले बताए ।

 

Page 3
समाचार

बजारमा बेपर्बाह

- कान्तिपुर संवाददाता


अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न सरकारले निषेध गरेका बेला काठमाडौंको नरदेवीमा सोमबार बिहान देखिएको भीड । उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहे पनि बजार निस्कने अधिकांशले स्वास्थ्य सावधानीसमेत अपनाउने गरेका हुँदैनन् ।
तस्बिर ः दीपक केसी/कान्तिपुर

समाचार

बहस युवा नेतृत्वको, आकांक्षी वृद्धैवृद्ध

- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो । राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि आफ्नो ‘करिअर’ को सबैभन्दा उच्चतम आकांक्षा नै मुलुकको कार्यकारी प्रमुख बन्नु हो । त्यो उपलब्धि देउवाले साढे दुई दशकअघि नै हासिल गरिसकेका हुन् । केही अपवादबाहेक विकसित मुलुकमा कार्यकारी प्रमुख भएर हटेपछि राजनीतिबाट अवकाश लिने प्रचलन छ ।
देउवा यसबीचमा चारपटक प्रधानमन्त्री बने । एकपटक विभाजित र एकपटक सिंगो कांग्रेसको सभापति भए । उमेरले समेत ७५ वर्ष पुगिसकेका उनी राजनीतिक विश्राम लिन भने अझै तयार छैनन् । पार्टीको १४ औं महाधिवेशनमा पनि उनी सभापतिको प्रत्याशीका लागि तयारी गरिरहेका छन् ।
तत्कालीन एमालेले ७० वर्ष उमेर पुगेपछि सक्रिय राजनीतिबाट अवकाश लिने नियम नै बनाएको थियो । त्यसको दबाब कांग्रेसमा समेत परिरहेको थियो । तर, एमाले र माओवादी केन्द्रको एकीकरणपछि उमेर हद हटाइयो । त्यही उमेर हदलाई नेकपाले निरन्तरता दिएको भए उपाध्यक्ष वामदेव गौतमले राजनीतिक अवकाश लिइसकेका हुन्थे । गौतम नेकपाका ज्येष्ठ नेता हुन् । उनको उमेरले ७२ वर्ष नाघिसकेको छ । नेकपामा त्यसपछि ७० वर्ष उमेर पुग्नेमा झलनाथ खनाल छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ६९, अर्का अध्यक्ष पुष्पकमल दाहाल ६६ र वरिष्ठ नेता माधव नेपाल ६८ वर्ष उमेरमा छन् । नेकपाको नेतृत्व तहमा रहेका यी अनुहारहरू पनि ०४८ सालदेखि नै राजनीतिक ‘सिन्डिकेट’ जमाएर बसेका छन् ।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र उमेरको विषय चर्चामा छ । ७५ वर्षका देउवा र ७६ वर्षका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको चाहनाले पनि उमेरको विषयले कांग्रेसमा चर्चा पाउन थालेको हो । देउवा र पौडेल पार्टीका पहिलो तहका नेताहरू हुन् । उनीहरू ०४८ सालदेखि निरन्तर नेतृत्व तहमा छन् । आसन्न महाधिवेशन पनि यी दुई नेताले छाड्ने मनस्थिति बनाएका छैनन् । आपसी प्रतिस्पर्धामा उत्रिन लागेका छन् । १३ औं महाधिवेशन पनि यी दुई नेताबीचकै प्रतिस्पर्धा थियो । दुईमध्ये एकले पार्टीको नेतृत्व लिए थप पाँच वर्ष गुज्रनेछ । कम्तीमा असी वर्षसम्म उनीहरूले पार्टीमा आफ्नो ‘सिन्डिकेट’ जमाउने छन् । अहिले युवा भनिएका नेताहरूको समेत त्यतिबेलासम्म कपाल फुलिसक्नेछ । त्यसैले कांग्रेसभित्र नेतृत्वको विषयमा पहिलो र दोस्रो पुस्ताबीच हानथाप चल्न थालेको छ ।
‘असी वर्षपछि पनि स्वास्थ्यले साथ दियो भने देउवा र पौडेल स्वेच्छाले हट्दैनन् । जबर्जस्ती अर्को पुस्ताले विस्थापित गर्न सक्यो भने बेग्लै कुरा,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘चारपटक प्रधानमन्त्री र पार्टी सभापति भइसकेपछि अब पनि शेरबहादुर दाइ नै किन भन्ने प्रश्न पार्टीभित्रभन्दा बाहिर बढी चर्चामा छ । तर, सत्ता र शक्तिको भोग गर्ने बानी परेपछि नमरुन्जेल राजनीति छाड्न नसक्ने संस्कृति नै बन्दो रहेछ । हिजो गिरिजाप्रसाद कोइरालामा देखिएको थियो, आज शेरबहादुर दाइमा देखिएको छ ।’
राजनीतिको उत्तरार्द्धमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सक्रिय राजनीतिको मोह त्यागेका थिए । तर, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला निधन हुँदाका बखत पार्टी सभापति नै थिए । अहिले देउवा र पौडेलका लागि पनि उत्तराधिकारी प्राथमिकतामा परेको छैन । कांग्रेस नेता मीनेन्द्र रिजाल पार्टीको संगठन बलियो बनाउन हरेक नेताले ६५ वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिनु उपयुक्त हुने धारणा राख्छन् । ६३ वर्षका रिजालले चौधौं महाधिवेशनलाई आफ्नो राजनीतिक करिअरका लागिसमेत अन्तिम मौका परीक्षाका रूपमा लिएका छन् ।
पार्टीले ६५ वर्ष उमेरमाथिका नेतालाई राख्न ज्येष्ठ राजनीतिज्ञ सभा व्यवस्था गरेको छ । पार्टीको क्रियाशील पदमा नभएको व्यक्तिलाई यस्तो सभामा ल्याउन सकिन्छ । रिजाल ६५ वर्ष उमेरपछि राजनीतिज्ञ सभामा बसेर पार्टीका लागि उपयुक्त सल्लाह सुझाव दिन उचित हुने बताउँछन् । उनले १२ वर्षअघि केन्द्रीय कार्यसमितिमै ६० वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर पछिल्लोपटक उनले ६५ वर्षको उमेर हदको प्रस्ताव अघि सारेका हुन् । केन्द्रीय सदस्य गगन थापाले पनि केही वर्षअघि ५५ वर्षसम्म मात्रै आफू सक्रिय राजनीतिमा रहने घोषणा गरेका थिए । शेखर कोइरालाले आफू ७५ वर्षपछि सक्रिय राजनीतिमा नरहने घोषणा गरेका छन् ।
रिजालका अनुसार राजनीतिमा जति अनुभवी भए पनि निश्चित उमेरपछि क्रियाशीलता घट्छ । आफूभन्दा अर्कोले राम्रो गर्न सक्ने परिस्थिति बन्न सक्छ । विश्व परिवेश पनि त्यस्तै छ । युरोप र अमेरिकामा युवाले नेतृत्व सम्हाल्दै आएका छन् । राम्रो काम गरेका पनि छन् । ‘सबै देशमा महाथिर जन्मँदैनन् । कांग्रेसमै सबै बीपी हुँदैनन् । गिरिजाप्रसाद कोइरालाजस्तो क्रियाशील हुन पनि सक्दैनन्,’ रिजालले भने, ‘म ६५ वर्ष पुगेपछि कुनै पनि पदमा उम्मेदवार हुन्न । पार्टीका सबै साथीहरूले यसै गरे युवाले नेतृत्व लिने वातावरण बन्छ, पार्टी पनि बन्छ ।’
पौडेल र देउवालाई चुनौती दिन उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला अघि सर्दैछन् । उनीहरूमा पनि उमेरको दबाब मुख्य देखिन्छ । उमेरकै दबाबमा रहेका दोस्रो पुस्ताका अन्य नेताहरू पनि यसै महाधिवेशनमा उपसभापति, महामन्त्री बन्ने दौडमा छन् । सभापतिका आकांक्षी शेखर ७० वर्ष लागेका छन् । ‘म अरूजस्तो नमरुन्जेलसम्म पदमा टाँसिइरहन्न, अर्को महाधिवेशनपछि म अवकाश लिन्छु,’ केही समयअघि कान्तिपुरसँग उनले भनेका थिए, ‘जब अर्कोपटक लड्नु नै छैन भने किन म महामन्त्री वा उपसभापतिमा बस्छु । यसैपटक सभापतिका लागि लड्छु ।’
शशांक शेखरभन्दा ८ वर्षले कान्छा छन् । उमेरको दबाबमा रहेकाले पनि शेखर यसपटक आफूलाई सहयोग गर्न शशांकलाई फर्काइरहेका छन् । प्रकाशमान सिंह ६५ र निधि ६४ वर्षका छन् । यसैपटक नलडे अर्को पाँच वर्ष पनि परिस्थिति प्रतिकूल हुने उनीहरूको बुझाइ छ । पार्टीभित्र विचार निर्माणमा अहिल्यैदेखि युवाको हस्तक्षेप बढेको छ । अर्कोपटक नेतृत्वकै लागि हस्तक्षेप हुने देखिन्छ । त्यसमा उमेर पनि ढल्केपछि प्रतिकूल अवस्था हुने बुझाइ सभापतिका सबै आकांक्षीको छ । १४ औं महाधिवेशनबाट महामन्त्री बन्ने र १५ औंमा सभापति हुने युवा नेता थापाको तयारी अहिल्यैदेखि चलेको छ ।
कांग्रेसमा दोस्रो तहका अन्य नेताहरू पनि अधिकांश ७० वर्ष कटेका छन् । गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसी ७३ वर्ष पुगिसकेका छन् । कृष्णप्रसाद सिटौला ७१ वर्षका छन् भने रामशरण महत ७० वर्षका भए । विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, बलबहादुर केसी, महेश आचार्य ६५ वर्ष कटेका छन् । केन्द्रीय कार्यसमितिमा ५० देखि ६० वर्ष उमेर समूहका नेताहरूकै बाहुल्य छ ।
देउवा र पौडेललाई यसैपटक नेतृत्वको ‘रिङ’ बाट बाहिर पुर्‍याउन सके दोस्रो पुस्ताका धेरै नेतासमेत यसैपटक नेतृत्व तहबाट बाहिरिने अनुमान कांग्रेसमा छ । यस्तो अवस्था उत्पन्न भए १५ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय कार्यसमितिमा रहेको तेस्रो पुस्ता नै नेतृत्वमा आउन सक्छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका नेता गोविन्द पोखरेल जतिसुकै लोकप्रिय भए पनि बीसौं वर्षसम्म निरन्तर एउटै व्यक्तिले पार्टीको नेतृत्व लिँदा पार्टी बहुआयामिक रूपमा चल्न नसक्ने बताउँछन् । उनका अनुसार विकासको गतिसँगै नेतृत्वको परिवर्तन पनि समाजले खोजेको हुन्छ । कांग्रेस नेतृत्वमा रहेका देउवा र पौडेल एक समय लोकप्रिय नेता थिए । तर, अहिले दुवैप्रति पार्टी र समाजको आकर्षण घटेको छ । पार्टी र सरकारको नेतृत्वमा छँदा गरेका शासकीय कमजोरी र गलत निर्णयका कारण देउवाप्रति आम विश्वास गुमेको छ । परम्परागत पुस्ताको सोच र धारणा राख्ने नेतृत्वबाट अहिलेको आधुनिक प्रविधिको समयमा अभ्यस्त युवा जमातलाई पार्टीमा जोड्न सकिँदैन भन्ने तर्क पनि उठिरहेको छ । युवा नेता प्रदीप पौडेलले भने, ‘स्वाभाविक बहिर्गमन नरोजे ७० वर्षपछि अनिवार्य अवकाश लिन बाध्य नपार्ने हो भने पार्टीले नयाँ पुस्ताको विचार र चाहनालाई डोर्‍याउन सक्दैन ।’
पोखरेल पनि नयाँ अनुहारलाई अवसर दिनका लागि नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउँछन् । ‘पुराना नेताहरूमा लामो अनुभव छ । सहनशीलता छ, निर्णय गर्न आत्तिँदैनन् । तर, समयको चाप र विकसित प्रविधिलाई पछ्याउन सक्दैनन्,’ उनले भने, ‘सोचाइ र विचारमा समेत कुनै नयाँपन देखिँदैन । क्रियाशीलता घट्छ । त्यस्तो बेला पुराना नेताले नयाँलाई अवसर दिने हो भने समाजले चाहेअनुसार पार्टीलाई हाँक्न सक्छन् । युवालाई आकर्षित गर्न सक्छ ।’
निर्वाचन आयोगका अनुसार ०७४ को निर्वाचन तथ्यांकमा ४० वर्षभन्दा कम उमेरका मतदाता ८० लाख ७१ हजार ३ सय ६९ थिए । कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले ४० वर्षको उमेर समूहको प्रतिनिधित्व गर्ने एक जना पनि छैनन् । केन्द्रीय कार्यसमितिमा गगन थापा कान्छा सदस्य हुन् । उनी अहिले ४४ वर्षका छन् । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषाअनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई मात्रै युवा भन्नुपर्छ । बाहिरका धेरै मुलुकमा १८ वर्षदेखि ३५ वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र राखिएको छ । संयुक्त राष्ट्रसंघले १५ देखि २९ वर्षसम्मकालाई युवा भनेको छ ।
राजनीतिक पार्टीहरूमा भने ६० वर्ष कटेकालाई समेत युवा भन्ने गरिएको छ । कांग्रेसभित्रै देउवा र पौडेलबाहेक तलका अधिकांश नेताले आफूलाई युवा भनेर चिनाउँछन् । कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो तहमा समेत ७० कटेका नेताहरू नै रहेकाले पनि तलबाट नेतृत्वको विकास क्रम रोकिएको कतिपयको बुझाइ छ । त्यही बुझेर केन्द्रीय सदस्य शेखर कोइरालाले स्थानीय तहमा ४०, प्रदेशमा ५० र केन्द्रमा ६० प्रतिशत युवा नेता आउने सुनिश्चित पार्टीको अधिवेशनबाट हुनुपर्ने प्रस्ताव अघि सार।ेका छन् । हालै पार्टीका केही युवा नेता भेट्न जाँदा देउवाले उनीहरूलाई नेतृत्व मागेर नभई लडेर लिन सुझाएका थिए । आफूले पनि गिरिजाप्रसाद कोइरालासँग लामो समय लडेको स्मरण गराउँदै सजिलै नेतृत्व नछाड्ने संकेत गरेका थिए ।
देउवाले जस्तै अवसर पौडेलले पाएका छैनन् । तीन दशक लामो कालखण्डमा पनि उनी सभापति र प्रधानमन्त्री बन्न सकेनन् । चौधौं महाधिवेशनलाई उनले आफ्ना लागि अन्तिम मौकाका रूपमा हेरेका छन् । आगामी महाधिवेशन हुने बेलासम्म देउवा ७६ र पौडेल ७७ वर्ष पुग्नेछन् । देउवाका लागि पार्टीमा चौधौं महाधिवेशन अन्तिम मौका हुनेछ । पछिल्लोपटक पार्टी विधानले सभापतिमा लगातार दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गरेको छ ।
उमेरका कारण देउवा र पौडेलपछिको पुस्ता सबैभन्दा बढी दबाबमा छ । यसपटक नेतृत्वमा आउन नसके कहिल्यै आउन नसकिने बुझाइ उनीहरूमा देखिन्छ । युवा नेता पौडेल पनि पहिलो पुस्ताका नेताहरूले अवकाश रोज्नुपर्ने बताउँछन् । ‘एकातिर कम्युनिस्ट जनमत बढ्दो छ । उनीहरूसँग प्रतिस्पर्धा गर्न नेतृत्वमा डाइनामिक हुन आवश्यक छ,’ उनले भने, ‘अहिलेको नेतृत्वले समयको गतिलाई बुझ्न सकेको छैन । पार्टीको सैद्धान्तिक पक्षमा अपडेट छैन । भए पनि राम्रोसँग व्याख्या गर्न सक्दैन । समाजको एजेन्डा र चाहनासँग बेपर्बाह छ । ०४७ सालदेखि एउटै नेतृत्वको सिन्डिकेटमा पार्टी चलेको छ । निरन्तर २७/२८ वर्षसम्म एउटै अनुहारबाट पार्टी कसरी चल्न सक्छ ?’

 

समाचार

सम्बन्ध सुधारमा भारत ‘अग्रसर’

- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - भारतसँगको सम्बन्धमा अविश्वास र तनाव कायमै रहेकै अवस्थामा नेपाली राजदूत नीलाम्बर आचार्यले भारतका प्रमुख राष्ट्रिय सुरक्षाका सल्लाहकार अजित डोभलसँग भेटेका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा विदेश मामिलामा अहम् भूमिका खेल्ने डोभलसँग आचार्यको भेट गत शुक्रबार भएको हो । स्रोतका अनुसार डोभलको कार्यालयमा आधा घण्टाभन्दा बढी कुराकानी भएको थियो ।
डोभल मोदी सरकारले अंगीकार गर्ने सुरक्षा तथा विदेशसम्बन्धी नीतिका सम्बन्धमा सबैभन्दा प्रभावशाली उच्च अधिकारी हुन् । उनले नेपालसम्बन्धी मामिलामा विशेष चासो राख्ने गरेका छन् । डोभल र आचार्य दुवैले मन्त्रीस्तरीय हैसियत राख्छन् । सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा लामो समयदेखि विश्वास संकट कायम रहेको पृष्ठभूमिमा उनीहरूबीच भएको भेटलाई दुई देशको राजनीतिक तहमा देखिएको तनाव र असमझदारी कम गर्ने दृष्टिले महत्त्वपूर्ण ठानिएको छ । स्रोतका अनुसार भेटमा विशेषगरी सीमा सम्बन्धमा संवादलाई अगाडि बढाउने विषयमा बढी चर्चा भएको थियो । डोभलले सीमासम्बन्धी विवाद चाँडो सुल्झाउने पक्षमा धारणा राखेका थिए । राजदूत आचार्यले भने भेटमा भएका छलफलबारे विस्तृत बताउन चाहेनन् । ‘नेपाल र भारत सम्बन्धका सबै पक्षमा छलफल भयो,’ उनले कान्तिपुरसँग भने ।
नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसो त पछिल्लो पटक सीमा विवाद सतहमा आएको भारतले गत वर्ष १६ कात्तिक (नोभेम्बर ८) मा कालापानी क्षेत्रलाई समेत समेटेर नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि हो । विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय बैठकका लागि नेपालले जोड दिँदै आएको थियो । नेपाल सरकारले दुई पटक औपचारिक रूपमा पत्राचारसमेत गरेको थियो । भारतले दुई महिनापछि मात्र पत्रको जवाफ दिए पनि मितिबारे प्रस्ट उल्लेख गरेको थिएन । गत २६ वैशाखमा भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिन पुग्यो । त्यसपछि पनि वार्ताका लागि नेपालले आग्रह गरेको थियो । तर, भारतका तर्फबाट कुनै जवाफ नआएपछि नेपाल सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । नेपालले संवादका लागि औपचारिक र अनौपचारिक माध्यमबाट प्रयास जारी राख्यो । तर, भारतबाट सकारात्मक संकेत आएन ।
दिल्लीका नेपाल मामिलाका जानकार तथा पूर्वकूटनतिज्ञहरूले भने दुई देशबीच लामो समयसम्म संवादहीनता रहन दिन नहुने भन्दै अप्रत्यक्ष दबाब दिँदै आएका थिए । उनीहरूले नेपालसँग लामो संवादहीनताले चीनलाई दक्षिण एसिया क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न थप सहयोग मिल्ने तर्क दिँदै आएका छन् । त्यसबाहेक सत्तारूढ भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयं संघ (आरएसएस) केन्द्रीय पंक्तिले पनि मोदी सरकारलाई दुई देशबीचको सम्बन्धका सबै आयामलाई ख्याल गर्दै संवादहीनता तोड्नका लागि पहल गर्न सुझाव दिँदै आएको स्रोतको भनाइ छ । सँगै नेकपाको आन्तरिक द्वन्द्वमा तत्कालका लागि लागेको ‘ब्रेक’ ले पनि भारतसामु नेपालको राजनीतिक नेतृत्व तहसँगको संवाद अगाडि बढाउन बाध्य बनाएको दिल्लीका एक थरी विश्लेषकहरूको बुझाइ रहेको छ ।
विश्लेषकहरूका अनुसार भारतीय संस्थापनले पार्टीभित्रको द्वन्द्व चर्किंदै गएर केपी शर्मा ओली प्रधानमन्त्री छाड्न बाध्य हुने र त्यसपछि मात्र सीमाका विषयमा संवाद गर्ने रणनीति बनाएको थियो । तर ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने देखिएपछि दिल्लीले आफ्नो नीतिमा पुनर्विचार गरेको हो । त्यसमाथि तीन महिनादेखि चीनसँगको सीमा विवादका कारण पनि पछिल्लो समय भारत निकट छिमेकीहरूसँग सम्बन्ध सुधार गर्ने निष्कर्षमा पुगेको हो । भारतीय विदेश सचिव श्रृंगलाले हालै बंगलादेश भ्रमण गर्नुअघि भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री एस जयशंकरसँग नेपाल र बंगलादेशलगायत छिमेकीहरूका विषयमा छलफल गर्नुले पनि त्यही संकेत गर्छ ।
गत १५ अगस्टमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर स्वतन्त्रता दिवसको शुभकामना दिएपछि दुई देशको उच्च राजनीतिक तहमा केही महिनादेखिको संवादहीनता औपचारिक रूपमा तोडिन पुग्यो । राजदूत आचार्यले पनि प्रधानमन्त्री तहमा भएको उक्त संवादले सकारात्मक वातावरण निर्माण गरेको बताए । त्यसको दुई दिनपछि नै भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरूको समीक्षा गर्न नेपाल–भारत अनुगमन संयन्त्रको बैठक भयो । परियोजनाहरूको प्रगति सकारात्मक रहेको निष्कर्षसहित बैठक सकिनुलाई दुई देशबीचको सम्बन्ध सुधारोन्मुख बन्न थालेको संकेतका रूपमा हेरिएको थियो । त्यसको केही दिनमै भारतीय राजदूत विनयमोहन क्वात्रा सडक मार्ग हुँदै दिल्ली आएका थिए । काठमाडौं छाड्नुअघि क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य उच्च अधिकारी एवं प्रमुख राजनीतिज्ञसँग भेट गरेका थिए । भारतको विदेश मन्त्रालयका अनुभवी र परिपक्व ‘क्याडर’ क्वात्राको यात्रा दुई देशबीचको सम्बन्ध र काठमाडौंको पछिल्लो राजनीतिक वातावरणबारे दिल्लीलाई ब्रिफिङ गर्नका लागि भएको ठानिएको छ । दिल्लीमा रहँदा उनले दुई देशबीच उच्च राजनीतिक तहको भेटघाट र संवादको पहलका लागि प्रयास गरेको अनुमान गरिएको छ । आचार्य र डोभलबीच भएको पछिल्लो भेटलाई क्वात्राको दिल्ली भ्रमणसँग पनि जोडेर हेरिएको छ । दिल्लीमा रहँदा क्वात्राले नेपाली दूतावासग सम्पर्क भने नगरेको स्रोतले जनाएको छ ।

मन्त्रीस्तरीय भ्रमणको तयारी
नेपालसँगको सम्बन्ध सहजउन्मुख भएसँगै भारतीय पक्षले उच्च अधिकारीहरूको भ्रमणका लागि चासो देखाउन थालेको छ । स्रोतका अनुसार त्यस किसिमको भ्रमण एक महिनाभित्रै हुने सम्भावना छ । कोभिड–१९ को महामारीका कारण मोदी सरकारका मन्त्री लामो समयदेखि विदेश भ्रमणमा निस्किएका थिएनन् । पछिल्लो सातादेखि भने वरिष्ठ मन्त्रीहरू धमाधम विदेश भ्रमणमा निस्किरहेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दसैं अगाडि सिंह र जयशंकरमध्ये एकलाई नेपाल पठाउने गरी दिल्लीले तयारी थालेको बुझिएको छ । भारतले विदेश सचिवस्तरीय भेटका लागि पनि चासो देखाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीको पदावधि २५ असोजमा सकिने भएकाले विदेश सचिवस्तरीय बैठक भने धकेलिने सम्भावना रहेको स्रोतले जनाएको छ । ‘भारत कम्तीमा पनि मन्त्रीस्तरीय भ्रमणका लागि सकारात्मक देखिएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।
नेपाली पक्षले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणलाई पनि प्राथमिकतामा राखेको बुझिएको छ । भारतीय पक्षबाट प्राविधिक कारणले उच्चस्तरको भ्रमण सम्भव नभए ज्ञवालीको औपचारिक भ्रमणका लागि पनि छलफल भइरहेको र यसप्रति भारतीय पक्ष पनि सकारात्मक रहेको परराष्ट्र स्रोतको भनाइ छ । ज्ञवालीले मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई वर्ष बितिसक्दा पनि भारतको औपचारिक भ्रमण गरेका छैनन् । यसबीचमा अन्य सन्दर्भमा भने दिल्ली आएका छन् ।

 

Page 5
समाचार

कतारमा नेपालीलाई राम्रो काम पाउन सहज

- होम कार्की

(काठमाडौं) - कतार पुगेपछि अर्घाखाँचीका नियमबहादुर विश्वकर्माले कम्प्युटर चलाएर काम गर्ने सपना देख्न छाडे । हातमा प्लस टु र कम्प्युटरमा डिप्लोमाको सर्टिफिकेट थियो । अंग्रेजी भाषा पनि जान्दथे । तैपनि उनले क्षमता अनुसारको अवसर पाइरहेका थिएनन् । कम्पनीले ‘क्लिनर’ को काम दिइरह्यो ।
‘मैले नेपालमा अवसर नपाएपछि वैदेशिक रोजगारीमा आए । यहाँ कम्पनीले जे काम दिन्छ । त्यही गर्नुपर्छ,’ उनले भने, ‘मेलै प्रशासन सहायकको काम गर्न सक्छु । अवसर आए पनि हात पार्न सकिनँ ।’ कम्पनीले उनलाई अर्को कम्पनीमा जान (रिलिज पेपर) कहिल्यै दिइएन । हातमा आइराख्ने ती अवसरहरू ‘आकाशको फल’ जस्तै भइरह्यो । कतारले कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति नचाहिने नियम ल्याएपछि भने उनी खुसी छन् । नियमबहादुरले फेरि प्रशासन सहायकको काम गर्ने सपना देख्न थालेका छन् । ‘अब मेरो क्लिनर हुने दिन सकियोजस्तो लाग्न थालेको छ,’ उनले भने, ‘अब मैले कतारमा साँचिकै भविष्य देख्न थालेको छु ।’ २००७ देखि कतारमा कार्यरत मदनकुमार खड्काले स्पोन्सरसिप चेन्ज गर्न पाउने कुराले खुसी बनाएको बताए । ‘श्रमिक हितमा कानुन परिवर्तन भएको अवस्थामा हामी नेपालीलाई धेरै राम्रो हुन्छ । आफूले भनेजस्तो काम गर्न र खोज्न पाइन्छ । रुचिको काम गर्न पाइन्छ । अरूको दबाबमा पर्न परेन । म पनि अन्य ठाउँमा काम खोज्नेछु,’ उनले भने, ‘कम्पनी, कानुनको बाध्यता र घरायसी समस्याले अहिलेसम्म एउटै कम्पनीमा काम गरिरहेको छु ।’

श्रमिकको अवस्था बलियो
आफ्ना कामदारलाई छाडेर आफूखुसी अन्त जान नदिन कम्पनीका लागि ‘रिलिज पेपर’ निकै बलियो हतियार थियो । जस्तो व्यहार गरे पनि श्रमिकले काम छोड्ला र अन्त जाला भन्ने डर कम्पनीलाई थिएन । कम्पनीसँग बाँधिएर श्रमिकले बाध्य भएर एकै ठाउँमा काम गर्नुपर्दथ्यो । अनुभव र क्षमता भए पनि श्रमिक पेलिएर काम गर्नुपर्थ्यो । रिलिज नचहिने प्रावधानले वर्षौंदेखि थुनिएर बसेका क्षमतावान् श्रमिक खुला भएका छन् । ‘अब कम्पनीले भिसा रद्द नै गरेर श्रमिकको इच्छाविपरीत नेपाल पठाउन सक्तैन । यो नभएपछि आफ्नो रुचिअनुसारको काम रोज्न पाएका छन्,’ कतारको श्रम मामिलाका जानकार दीपक भेटवालले भने, ‘यसले श्रमिकको आत्मविश्वास र मनोबल बढ्ने भयो ।’
सामान्य श्रमिकका रूपमा पुगेका नेपालीले कम्पनीको माथिल्लो तहमा पनि प्रतिस्पर्धा गर्न पाउने वातावरण बनेको छ । सधैंभरि तल्लो तहमा न्यून तलबमा मात्रै काम गरिराख्नुपरेन । यति भएपछि कम्पनीले आफ्ना श्रमिकलाई उचित व्यवहार गर्नुपर्ने हुन्छ । ‘जुन कम्पनीले उचित व्यवहार गर्दैन । त्यस्तो कम्पनीमा अब श्रमिक सहेर बस्दैन । क्षमता र योग्यताअनुसार तलब र सेवासुविधामा कम्पनीसँग श्रमिकको बार्गेनिङ पावर बढ्नेछ,’ उनले भने ।
कतारका लागि नेपालका पूर्वराजदूत सूर्यनाथ मिश्रले कतारको श्रम बजारमा श्रमिकको पोजिसन बलियो भएर आएको बताए । ‘म्यानपावरले जस्तो मागपत्र खोजेर श्रमिक पठाएको थियो । त्यसैमा अल्झेर बस्नुपर्थ्यो । नचाहेर पनि एकै प्रकृतिको काम गर्न बाध्य थिए । स्पोन्सरसिप कानुन कठोर र न्यूनतम तलब नभएको आडमा श्रमिकको अवस्था पीडादायी छ । यी दुवै पाटोमा सुधार गरेर श्रमिकको पोजिसिन सुरक्षित भयो । कामअनुसारको तलब नपाएकाहरू, स्किलअनुसार काम नपाएको श्रमिक जहाँ उचित तलब र काम पाउने भयो, त्यही जाने अवस्था बन्यो,’ उनले भने, ‘नेपालीको बाहुल्य रहेको श्रम बजारमा यति सुधार हुनु भनेको त नेपालीले नै बढीभन्दा बढी अवसर पाउनु हो ।’
‘विदेशी श्रमिकमाथि शोषण हुने अवस्था, बोल्न पनि नपाउने, जसरी पनि काम गरेर बस्नुपर्ने, अन्त पनि जान नपाउने, घर आउन पनि पनि नदिने विकल्प थिएन,’ उनले भने, ‘अब त विकल्प दिएको छ । यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।’

समान तलब तोक्दा नेपाललाई फाइदा
कतारले श्रम बजारलाई खुला रूपमा छाडेको थियो । न्यूनतम तलब तोकेको थिएन । जुन देशले श्रमिक पठाउने हो, उसैले आफ्नो तर्फबाट श्रमिकको न्यूनतम तलब निर्धारण गर्ने हो । पछिल्लोपटक नेपालले तोकेको तलब प्रतिस्पर्धी देशले तोकेको भन्दा बढी थियो । अदक्ष श्रमिक पठाउने मुख्य प्रतिस्पर्धी मुलुक बंगलादेशले ७ सय रियाल तोक्दा नेपालले ९ सय रियाल तोकेको थियो । अफ्रिकी मुलुकबाट आउने श्रमिकले पनि ७ सयकै हारहारीमा थियो । जसले गर्दा नेपालले सहज पाइरहेको मागपत्र बंगलादेश र अफ्रिकी मुलुकतर्फ मोडिएको थियो ।
कतारले सबै देशका श्रमिकलाई समान रूपमा लागू हुने गरी न्यूनतम तलब एक हजार रियाल निर्धारण गरेको छ । जसले खाना र बस्नसहितको सुविधा दिन्छ, उसले ओभरटाइमबाहेक एक हजार रियाल पाउँछ । जुन कम्पनीले खानाको सुविधा मात्रै दिन्छ तर बसोबासको सुविधा दिँदैन भने ओभरटाइमबाहेक १५ सय रियाल दिनुपर्छ । जुन कम्पनीले खाना र बसोबास दुवै सुविधा दिँदैन भने उसले १८ सय रियाल दिन्छ । यो व्यवस्थाले नेपाली श्रमिकको तलब मात्रै सुरक्षित भएन कि नेपाली श्रमिकमाथि भइरहेको शोषण पनि अन्त्य हुने मिश्रको भनाइ छ । ‘कम्पनीले शोषण गरेर जरुरतभन्दा बढी फाइदा गरिरहेको छ । अब त्यसरी शोषण गर्न पाइँदैन । अनुचित लाभ लिन नपाइने हो,’ उनले भने, ‘सबैको तलब एकसमान भयो । बंगाली, केन्या, फिलिपिन्सको समान भयो ।’
समान तलब भएकाले कतारमा नेपालीको माग बढ्ने निश्चित छ । ‘तलब निर्धारणले माग गुम्दैन कि नेपालीको बजार थप सुरक्षित भएको छ । नेपाली कडा मिहिनेत छन् । इमान्दार छन् । सोझा छन् भन्ने नै हाम्रो कतारी बजारमा पहिचान हो । शोषण र ठगी भएन भने नेपाली अनावश्यक बबाल गर्दैन भनेर रोजगारदाताले नै मानेको छ । अरूभन्दा पनि हाम्रो गुणस्तर बढी छ । हाम्रो अरूसँग प्रतिस्पर्धा नै छैन,’ उनले भने ।
बरु यसअघि गुम्दै आएको मागपत्र फेरि नेपालतिरै फर्किने सम्भावना बढेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङले कतारी कम्पनीको लागि अझै नेपाली श्रमिक नै पहिलो प्राथमिकतामा रहेको बताए । ‘केही वर्ष नेपाली श्रमिक चाहेर पनि आन्तरिक प्रतिस्पर्धाले हामीले मागपत्र गुमाउनुपर्‍यो । जुन कम्पनी दोहोरो करारपत्र बनाउँथे, उसले त नेपाली नै लगिरह्यो । जसले दोहोरो करारपत्र बनाएन उसले नेपालीको विकल्प छाने,’ उनले भने, ‘सबै देशलाई एउटै तलब लागू भएपछि श्रमिकको तलब पनि सुरक्षित भयो । बजार पनि सुरक्षित भयो ।’
कतारमा भारतीय श्रमिकपछि नेपालीकै बाहुल्य थियो । कतार राष्ट्रिय मानव अधिकार समितिको अनुसार नेपालले एकतर्फी रूपमा न्यूनतम तलब लागू गरेको वर्ष सन् २०१३ मा कुल जनसंख्याको २३. ५ प्रतिशत नेपाली श्रमिक थिए । ३ लाख ३९ हजार नेपाली कार्यरत थिए । त्यतिखेर कतारको जनसंख्या १४ लाख ४९ हजार थियो । ९ प्रतिशत मात्रै बंगाली थिए । गत वर्षसम्म आइपुग्दा नेपालीको श्रमिकको संख्या आधा घटेको देखिन्छ । कतारको कुल जनसंख्या २० लाख ८३ हजार पुग्दा नेपालीको उपस्थिति कुल जनसंख्याको १२.५ प्रतिशत थियो । बंगालीको उपस्थिति बढेर १२ प्रतिशत पुगेको थियो ।
गुरुङका अनुसार न्यूनतम तलब तोकिएपछि भर्ना प्रक्रियालाई न्यायोचित बनाउन मद्दत पुग्नेछ । ‘अब भर्ना प्रक्रिया न्यायोचित हुन्छ । छलकपट हुँदैन । श्रम विभागमा एउटा पेस हुने र कतारमा पुग्दा कम्पनीले अर्को दिने अवस्था हुँदैन । यो भएपछि म्यानपावरमाथि एकतर्फी रूपमा लाग्ने दाग पनि हट्नेछ,’ उनले भने ।

रोजगारीमा स्थायित्व
५० को दशकयता झन्डै १५ लाख जनाले कतार जान श्रम स्वीकृति लिइसकेका छन् । सन् २०१० मा कतारले विश्वकप खेलाउने देशको रूपमा चुनिएपछि हरेक वर्ष १ लाख जना नेपाली श्रमिक गइरहेका थिए । तर करार अवधि थप्ने नेपाली असाध्यै थोरै छन् । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष ३१.६ प्रतिशत पुरुष र १०.३ प्रतिशत महिलाले करार अवधि थप गरी पुनः कतारको रोजगारी निरन्तरता दिएका छन् । लकडाउन सुरु हुनुअघिसम्म ३ लाख ५१ हजार नेपाली कार्यरत थिए । लकडाउन पछि नयाँ नेपाली श्रमिक जान पाइरहेका छैनन्, फर्किने मात्रै छन् ।
‘एउटा सोच लिएर गएको हुन्छ । एउटा आशा हुन्छ । त्यहाँ गएपछि १ सय ८० डिग्री फरक पर्छ । उनीहरूको आशा नै मर्छ । सोचेको न्यूनतम कुरा पनि पूरा हुँदैन । जेनतेन दुई वर्ष बसेर फर्किन्छन्,’ भेटवालले भने, ‘अब भने फर्किने अवस्था कम हुन्छ । यसले थप अवसरका लागि त्यही प्रतिस्पर्धा गर्छ ।’
एक हजार रियाल न्यूनतम तलब पाउँदा ओभर टाइमले रकम बढाइदिन्छ । एक जना श्रमिकले दैनिक रूपमा सरदर दुई घण्टा ओभरटाइम गरेकै हुन्छ । उसले महिनामा सरदर ७८ घण्टा ओभरटाइम गरेको हुन्छ । न्यूनतम तलबबाहेक बिदाका दिनबाहेक ४ सय ६ रियाल आउँछ । ओभरटाइमसहित १४ सय ६ रियाल (४५ हजार रुपैयाँ) हात पर्ने अवस्था छ ।
एक कम्पनीका मानव संसाधन प्रमुख सञ्जीव रानाभाटले अदक्ष श्रमिकले मासिक ४० देखि ५० हजार रुपैयाँसम्म नेपाल पठाउने अवस्था बनेकाले अब पहिला जसरी करार अवधि रद्द गर्ने अवस्था कम हुने बताए । ‘अर्धदक्ष श्रमिकले योभन्दा पनि बढी तलब आउने हो । अब कतार छिर्ने जो कोहीले कम्तीमा ३२ हजार त पठाउने सुनिश्चित नै भयो,’ उनले भने, ‘जुन कम्पनीले न्यूनतम तलबसमेत दिन सक्ने हैसियत छैन । त्यस कम्पनी त सजायको भागिदार बन्छ नै । उसको कारोबारसमेत रद्द हुन्छ ।’
नयाँ अवसर कतारमा पाउने भएपछि श्रमिकमाथि अर्को देशमा अवसर खोज्दै जाने बाध्यता पनि हट्नेछ । जसले गर्दा श्रमिकमाथि थप ऋणभार लाग्ने छैन । १६ वर्षदेखि कतारमा व्यवसाय चलाउँदै आएका टीबी कार्कीले अब बिदामा गएर फेरि कतारमै रोजगारीमा आउनेको संख्या बढ्ने बताए । ‘दुई वर्षका लागि आउने अनि फर्किने श्रमिकको बाहुल्य थियो भने अब घट्छ । स्थायित्व बढ्छ । मार्केट रेट बढ्छ,’ गैरआवासीय नेपाली संघ कतारका पूर्वउपाध्यक्षसमेत रहेका कार्कीले भने, ‘कम्पनी पनि नयाँ ढंगले चल्छ ।’
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार कतारको प्रतिब्यक्ति आयको हिसाबले न्युनतम तलब अझै कम भएको बताए । ‘कतारले पहिलोपटक न्यूनतम तलब निर्धार्रण गरेको छ । यो सुखद हो । यसको स्वागत गरेका छौं,’ उनले भने ।

समाचार

चट्याङबाट बचे, पहिरोमा जोगिएनन्

- आनन्द गौतम

(ताप्लेजुङ) - भदौ १६ दिउँसो २ बजे, सिरिजंघा गाउँपालिका–४ तेल्लोकका ३० वर्षीय राजु थेबे नागदेवा लघु जलविद्युत् आयोजनाको विद्युत् गृह (पावर हाउस) छेउमा बसेर वेयरिङको सामग्री मिलाउँदै थिए । यत्तिकैमा चट्याङको ठूलो आवाज सुनियो । उनी मूर्च्छा परेर ढले । १५ मिनेटपछि मात्रै बौरिए । आँखा त खोले तर केही सुन्न नसक्ने भए । उनलाई लाग्यो– अब सुन्ने शक्ति गुम्यो ।
करिब एक घण्टामा उनले पहिलेको जस्तैगरी सुन्न थाले । सामान्य अवस्थामा फर्किएपछि उनले थाहा पाए, चट्याङले दाजु रामकुमार थेबेको अलैंची बगानमा काम गर्ने ६ जना घाइते भएछन् । अलैंची टिप्दै गरेका उनीहरूमध्येका एक उमेश थेबे गम्भीर भएपछि सिरिजंघा गाउँपालिकाले सबै खर्च बेहोर्ने गरी उपचारका लागि झापाको बिर्तामोड पठायो । फुङलिङ नगरपालिका–१० फुरुम्बुकी दुर्गा विष्ट भट्टराईको भने चट्याङकै कारण मृत्यु भएको थियो ।
त्यस दिन राजुले पुनर्जन्म पाएको अनुभूति गरे । त्यही खुसीमा साँझ विद्युत् गृह नजिकैको विश्वराज भट्टराईको होटलमा ७ जना साथी भेला भएर भोज गरे । विश्वराजका अनुसार उनले त्यस दिन ६ हजार ३ सय रुपैयाँ बिल तिरेका थिए । भोजमा सहभागी साथीहरूका अनुसार चट्याङ लाग्दा पनि बचेकोमा राजु निकै खुसी थिए ।
तर, यो खुसी एक हप्ता पनि टिकेन । आइतबार बेलुकादेखि परेको वर्षासँगै झरेको पहिरोले उनलाई लग्यो । स्थानीय टोल विकास समितिका अध्यक्षसमेत रहेका उनी आइतबार बेलुकीपख बैठक सकेर विश्वराजकोमा गई चाउचाउ बनाउन लगाएर खाएका थिए । उनीसँगै ३ जना साथी पनि थिए । ‘घर जान्छु र पावर हाउस झर्छु’ भनेर हिँडेका उनलाई बिहान गाउँलेले मृत अवस्थामा फेला पारे ।
गाउँपालिका अध्यक्ष टीका गुरुङका अनुसार पहिरोले विद्युत् गृह सोहोरेर खोलामा पुर्‍याएको छ । घटनामा राजुसँगै स्थानीय ५५ वर्षीय विष्णुदास थेबेको पनि मृत्यु भएको छ । ‘उनीहरूले त बच्नका लागि भाग्ने मौकै नपाएको जस्तो देखिन्छ,’ गुरुङले भने, ‘बिहान हामीले सिरक, डसना र अरू सामानसहित उनको शव भेट्यौं ।’
उनीहरूले सुत्ने गरेको खाट भने केहीमाथि नै अल्झिएको अवस्थामा भेटिएको थियो । ‘पावर हाउसको माथि पहरो छ, पहरोको माथि माटो जमेको रहेछ,’ गुरुङले थपे, ‘भारी वर्षा माटोले थाम्न नसकेपछि पहिरो बनेर झरेको जस्तो देखिन्छ ।’ करिब ३० मिटर माथिबाट बगेको पहिरोले विद्युत् गृह १५ मिटर तल पुर्‍याएको छ । उक्त स्थानमा नागदेवा खोला र काबेली नदी मिसिन्छन् ।
राजुसँगै ज्यान गुमाएका विष्णु भने उनको साथी गएका थिए । विद्युत् आयोजना बनेसँगै अपरेटरको काम गर्न थालेका राजु यसै वर्ष टोल विकास समितिको अध्यक्ष भएपछि विष्णुलाई काम सिकाउन थालेका थिए । २० किलोवाट क्षमताको यो विद्युत् गृहमा शान्ति विश्वकर्मा र राजु पालो मिलाएर काम गर्थे । पहिले राति मात्रै सञ्चालन हुने विद्युत् गृह भदौ १ देखि दिउँसो पनि चल्न थालेको थियो ।
गाउँपालिकाको अनुरोधमा कार्यालय प्रयोजनका लागि दिउँसो पनि चलाउन थालिएको हो । अध्यक्ष गुरुङले भने, ‘राति १ बजेसम्म त बिजुली बलिरहेकै थियो, त्यसपछि झ्याप्पै गयो । पानी परिरहेकाले बन्द गरे होलान् भन्ने लाग्यो । तर पहिरो गएर सखापै पो पारेको रहेछ ।’ घटनास्थल सदरमुकाम फुङलिङबाट सात घण्टाको सवारी दूरीमा पर्छ ।
जिल्ला मिनिग्रिडका सचिव तथा चिमाल ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष खड्गविक्रम सुवेदी भिरालो जमिनमा बनाइने हुँदा यहाँका हरेकजसो विद्युत् गृह जोखिममा रहेको बताउँछन् । ‘बाढीले पावर हाउस बगाएका थुप्रै घटना छन्,’ उनले भने, ‘कतिपय घटनामा अपरेटरले भागेर ज्यान बचाएका छन् ।’

समाचार

ॅपलपल मृत्युसँग जुधेर बाँचें’

- कान्तिपुर संवाददाता

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखा प्रमुख भएकाले म कोरोनाको नियमित अनुगमनमा खटिँदै आएको थिएँ । साउन ३० गते मलाई पनि संक्रमण देखियो । ब्लडप्रेसरका बिरामी भए पनि सुरुमा कुनै लक्षण थिएन । सामान्य निगरानी आफैं गर्न सक्ने भएकाले होम आइसोलेसनमा बसेँ । घरका ८ जनालाई पनि संक्रमण देखियो । घरमै निगरानीमा बसिरहेका बेला श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना अस्पतालको आईसीयूमै भर्ना भएँ । २१ दिनको संघर्षपछि भदौ १९ मा डिस्चार्ज भएको हुँ । अहिले घरमै आराम गरिरहेका छु । कोरोनालाई सामान्य नठान्नूस् । म भाग्यवश बाँचेर आएँ । यस्तो अवसर सबैलाई नमिल्न सक्छ ।
होम आइसोलेसनमा बसेकै बेला संक्रमणको ५ दिनपछि गल्दै गएँ । रुघाखोकी र ज्वरो बढ्दै गयो । सातौं दिन त अक्सिजनको लेभल निकै तल गयो । सेचुरेसनको मात्रा ९३ बाट तल झर्दै गयो । मलाई श्वास फेर्न अप्ठ्यारो भयो । अवस्था जटिल भएपछि बुटवल धागो कारखानास्थित कोरोना अस्थायी अस्पतालको आईसीयूमा राखेर अक्सिजन दिइयो । निमोनिया पनि देखियो । त्यति मात्र उपचारले अवस्था सुधार भएन । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले अन्तिम उपायका रूपमा रेमडेसिभिर औषधि प्रयोग गरेर हेर्नुपर्ने बताउनु भयो । जुन भाइरल एन्टिबाइटिक औषधि हो ।
त्यसअघि अस्पतालका अरू बिरामीलाई यस्तो औषधि प्रयोग गरिएको थिएन । मैले उक्त औषधि प्रयोगपछि केही बाँचेका र केही मरेका बिरामीको अवस्था थाहा पाएँ । आसपासमा बिरामी मरिरहेका थिए । आफ्नो पनि ठेगान रहेन । अरू उपाय नदेखिएको र बाँच्न सक्ने त्यही उपाय भएकाले मैले साइड इफेक्ट भए पनि हुन्छ चलाउनुस् भनें । त्यसको थामिनसक्नु असरले म झन् शिथिल हुँदै गएँ । तैपनि, डाक्टर साबको औषधि चक्र सम्झेर निराश भइनँ । बाँच्ने र निको हुने आशा पालिराखें ।
रेमडेसिभिर औषधिले हुने कलेजो संक्रमण बाहेकका सबै असर ममा देखिएको थियो । यद्यपि म निराश भइनँ । उच्च आत्मबल बनाइराखेँ । प्रयोग सफल भयो । औषधि प्रयोगको तेस्रो दिनदेखि केही सुधार देखिन थाल्यो । धिमा गतिमा सुधार भयो । गलेर बोल्न नसक्ने अवस्थाबाट खुलेर बोल्न सक्ने भएँ । सबैसँग हाँसेर बोल्न थालेँ । खाना रुच्न थाल्यो । तर कोरोना संक्रमण र रेमडेसिभिर औषधि प्रयोग सजिलो रहेनछ । मैले पलपल मृत्युसँग जुध्नुपर्‍यो । व्यवस्थित अस्पताल, सफल चिकित्सकीय टोली नभएको भए सायद मैले नयाँ जीवन पाउने थिइनँ ।
(कुराकानीमा आधारित)

समाचार

भारतीयको कुटाइबाट घाइते वृद्धको मृत्यु

- कान्तिपुर संवाददाता

राजविराज (कास)– भारतीय नागरिकको समूहबाट कुटिएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–६ का ६५ वर्षीय रामदेव यादवको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । गत भदौ ६ गते नेपाल–भारत सीमा क्षेत्र दशगजानजिक भारतीयको समूहले रामदेव र उनका छोरा अनिलमाथि बाँसका भाटा र लट्ठीले निर्घात कुटपिट गरेका थिए । आफ्नो धान खेतमा बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गतको करियौतका भारतीयले भैंसी चराएपछि उनीहरू रोक्न गएका थिए । कुटपिटमा संलग्नमध्येका करियौत बस्ने १९ वर्षीय प्रदीप यादवलाई स्थानीयले त्यसै दिन नियन्त्रणमा लिएका थिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको भारतीले बताए । भारतीयको कुटपिटपछि उक्त सीमा क्षेत्रमा पछिल्लो समय दुवैतर्फका सर्वसाधारणबीच तनाव बढेको छ ।

समाचार

नदीमा बगेका दुईको शव फेला

- कान्तिपुर संवाददाता

ताप्लेजुङ (कास)– सिरिजंघा गाउँपालिका–७ लुम्लेको तावाखोलामा बेपत्ता भएका दुई युवकको शव भेटिएको छ । सिदिङ्वा गाउँपालिका–७ सुरुमखिमका ३२ वर्षीय सूर्यमान लिम्बूको शव ७ सय मिटर तल र ३६ वर्षीय सुमन लिम्बूको शव पाथीभरा याङवरक गाउँपालिका–७ थुम्बेदिनको काबेली खोला किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । उनीहरू दुई जना र गणेश राई गत शनिबार खोलामा माछा मार्न गएका थिए । जाल हान्ने क्रममा सूर्यमान ढुंगामा चिप्लिएर खोलामा लडेका थिए । उनीभन्दा तल रहेका सुमनले निकाल्ने प्रयास गर्दा उनी पनि बगेको प्रहरीले जनाएको छ ।

समाचार

मलेसियामा नेपालीलाई मृत्युदण्डको फैसला

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै धनुषाको गोविन्दपुरका ३६ वर्षीय सुरजदेव साह तेलीलाई मृत्युदण्ड दिने फैसला गरेको छ । तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै अदालतले अगस्ट १७ मा मृत्युदण्डको फैसला गरेको हो । नेपाली दूतावासले तेलीको जीवनरक्षाका लागि पुत्राजयस्थित पुनरावेदन अदालतमा पुनरावेदन गरिसकेको छ । हारिधासको २०१६ डिसेम्बर २ मा हत्या भएको थियो । लरी ट्रकका ड्राइभर रहेका तेली हारिधासकी श्रीमतीका प्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीका रूपमा अदालतमा पेस गरेको थियो । सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकका रूपमा काम गर्थे । उनी मलेसिया भाषामा दख्खल राख्छन् ।

समाचार

अन्तर्राष्ट्रियतर्फ ५५ उडान थपिए

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु संख्या ८ सयसम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्न निर्देशन दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थप ५५ वटा उडानलाई स्वीकृति दिएको छ । कोभिड–१९ महामारीका कारण स्वदेश फर्किन चाहने नेपालीहरूको संख्या हजारौं रहेकाले भदौ १४ मा बसेको मन्त्रिपरिषद् बैठकले चार्टर र नियमित दुवै उडानबाट एक दिनमा आउने यात्रुको संख्या ३ सयले थप्दै ८ सय पुर्‍याएको थियो । यसअघि सरकारले भदौ ४ मा दैनिक ५ सय नेपालीलाई मात्रै ल्याइने निर्णय गरेको थियो । निर्णय संशोधनसँगै मन्त्रालयले भदौ १६ देखि असोज १४ सम्मको एक महिनामा ९३ नियमित र ४९ चार्टर गरी १४२ वटा उडानलाई काठमाडौं आउन अनुमति दिएको हो । सरकारले लकडाउनयता पहिलो पटक भदौ ४ मा दैनिक आगमन यात्रु संख्या ५ सयले नबढ्ने गरी चार्टर उडानसँगै नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको थियो । तर, नेपाल फर्किने यात्रु संख्या विदेशमा अत्यधिक भएको र थोरै उडान स्वीकृति दिँदा टिकट अत्यधिक महँगो भएको गुनासो आएपछि सरकारलाई उडान संख्या बढाउन दबाब परेको थियो ।

Page 6
सम्पादकीय

देश छाड्नेको ताँती नदेखेझैं नगर

- कान्तिपुर संवाददाता

हिजो कोभिड–१९ ले जब छिमेकी मुलुक भारतलाई गाँज्दै ल्यायो, तब त्यहाँबाट स्वदेश आएका नेपालीहरू यतिबेला धमाधम उतै फर्कंदै छन् । यो आफैंमा विस्मयकारी खबर छ— महामारीबाट जोगिन घर आएकाहरू प्रकोप झन् उत्कर्षमा पुगिरहँदा देश छाड्दै छन् । जबकि, भारत आफैं संक्रमणको कहालीलाग्दो अवस्थामा छ, आइतबार मात्रै त्यहाँ ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने कुल संक्रमितको संख्यामा उक्त मुलुक ब्राजिललाई पनि उछिनेर विश्वमै दोस्रो बनिसकेको छ । ४२ लाख संक्रमित नाघिसकेको त्यहाँ दिनहुँ एक हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाइरहेका छन् । यस्तो भयावह स्थितिमा पनि महामारीको रापमा सेकिन नेपालीहरू रहरले त्यता गइरहेका होइनन् । यता भोकले टिक्नै नसक्ने हुँदा पनि राज्यबाट रोजीरोटीको प्रत्याभूति नभएपछि भयलाई जितेर उनीहरू बिदेसिन विवश बनेका हुन् । संकटका बेला पनि नागरिकहरूले आफ्नै देशभित्र भर पर्न नसकेको यो मामिला आफैंमा गम्भीर छ, मुलुकका सबै तहका सरकार, सरकारी तन्त्र र सार्वजनिक मामिलामा चासो राख्ने जो कोहीले पनि यसलाई तदर्थ शैलीमा मात्रै लिनु हुँदैन । कम्तीमा संकट अवधिभर भए पनि उनीहरूलाई मुलुकमै अड्याउने वातावरण बनाउन ठोस पहल थाल्नुपर्छ ।
पश्चिम नेपालका सीमावर्ती नाकाहरूमा अचेल दिनहुँ भारतबाट आउनेभन्दा जाने धेरै भेटिन्छन् । उनीहरूमध्ये कति त घर आएकै धेरै भएको थिएन । तापनि फेरि उतै फर्किहाल्नुपर्नेमध्ये धेरैको कारण उही छ— यता खेतीको अन्नले भ्याएन, ऋणपान गर्ने ठाउँ पनि सकियो र गुजारा चलाउनै गाह्रो भयो । अगाडिको विकल्प ‘भारतिनु’ मात्र भएपछि उनीहरूले बाध्यतावश जोखिमलाई जित्न खोजेका हुन् । केही भने उतै बन्द–व्यवसाय भएकाले यता त्यसै कति बस्नु भनेर हिँडेकाहरू पनि छन् । महामारीका कारण अन्तर्राष्ट्रिय नाका बन्द भएकाले विदेशी कम्पनीको कामदार प्रमाणपत्र लिएका र भारतको स्थायी बसोबास गरेको आधार कार्ड भएकालाई मात्र प्रशासनले उता जान दिइरहेको छ । इच्छुक सबैलाई छाड्ने हो भने बिदेसिनेको भीड अझै ठूलो हुन सक्छ ।
महाव्याधिसँगै बेरोजगारी समस्या विश्वव्यापी छ । रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिने संकेत देखिएसँगै विज्ञहरूले यसबारे सरकारलाई सजग गराएका थिए, रोजगारी बढाउने सिर्जनशील कार्यक्रम ल्याउन सुझाव दिएका थिए । यसबीचमा करिब आधा वर्ष बितिसक्यो । सरकारले गत जेठ १५ मै ल्याएको यस आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जनामा जोड दिने बताएको पनि थियो । मुलुकभित्रै रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई कामको अवसर सिर्जना गर्नुपर्ने चुनौतीलाई बजेटले सम्बोधन गर्न खोजेजस्तो देखिन्छ पनि । नागरिकका लागि काम र रोजगारीका अवसरलाई बजेटले क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारणको तेस्रो बुँदामै उल्लेख गरेको छ । ‘देशभित्र काम र रोजगारीका थप काम र अवसर सिर्जना गर्ने’ भनिएको बजेटमा ‘स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका श्रममूलक सामाजिक तथा भौतिक विकास आयोजनामा विपन्न परिवारलक्षित कामका लागि खाद्यान्न सञ्चालन गर्ने’ बताइएको छ । बेरोजगार रहेका, कोरोनाका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केकालाई पारिश्रमिकसहितको जनसहभागितामूलक र प्रविधिसहितको श्रममूलक विकास निर्माणमा परिचालन गर्ने प्रतिबद्धता जनाइएको छ । तैपनि यतिबेला विदेश हिँड्नेको लर्को देख्दा लाग्छ— आखिर बजेट त सब भन्ने कुरा न हो !
कार्यकर्ता वितरणमा केन्द्रित रहेको भनेर आलोचित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बाटै २ लाखलाई रोजगारी दिने भनेर बजेटमा ११ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । यसको एक तिहाइभन्दा बढी रकम स्थानीय तहमा गइसकेको बताइएको छ । त्यस्तै, विदेशबाट फर्किएका कोरोना प्रभावित ५० हजारका लागि सीप विकास, तालिम र प्रविधि पहुँच विस्तार गर्न १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यसबाहेक रोजगारी सिर्जनाकै लागि सरकारले युवा स्वरोजगार कोष, श्रम सूचना बैंकदेखि सीप रूपान्तरणजस्ता कार्यक्रमको रकम बढाएको छ । यी कार्यक्रममार्फत झन्डै ८ लाखलाई रोजगारीका सिर्जना गर्ने दाबी बजेटमा उल्लेख छ । रोजगारी सिर्जनामा यति धेरै प्रतिबद्धता जनाइएको बजेट कार्यान्वयनमा गएको दुई महिना हुनै लाग्यो, तैपनि आपत्मा परेका नागरिकहरूले सरकारी आडभरोसा पाउन सकेका छैनन् । बरु आफ्नो बाटो आफैं तताउन बाध्य भएका छन् ।
सरकारी योजनाअनुसार केही पालिकाले कार्यर्क्रमको खाका बनाए पनि लम्बिँदा ‘लकडाउन’ र निषेधाज्ञाका कारण कार्यान्वयन गर्न नसकेको बताएका छन् । केहीले तत्काल रोजगारको कुनै कार्यक्रम नभएको जनाएका छन् । सरकारले थप सिर्जनशील बनेर बेरोजगारलक्षित योजना अघि सार्नु त कता हो कता, बजेट विनियोजन भएकै कार्यक्रम पनि लागू हुन नसक्नु आफैंमा उदेकलाग्दो छ । रोजगारीमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने क्षेत्रले पनि युवाहरूलाई अड्याउन सकेको देखिँदैन । मुख्य बालीको याममै मल हाहाकार हुनुले किसानका दुःख बताइहालेकै छ । यस्तो अवस्थामा तीनै तहका सरकारले रोजगारी सिर्जनाका निर्धारित कार्यक्रम अविलम्ब लागू गरेर आपत्मा परेका बेरोजगारहरूलाई समेट्नुपर्छ । र, आफैं काम खोज्नसमेत नदिने गरी लकडाउन र निषेधाज्ञालाई निर्विकल्प उपायका रूपमा लम्ब्याइरहनु हुन्न ।
मुलुकमा कति काम उपलब्ध छ, कति श्रमशक्ति त्यसै बसिरहेका छन्, यसको दुरुस्त नक्सांकन पनि सरकारी निकायले गर्नुपर्छ । किनभने, यहाँ एउटा विरोधाभास छ— नेपालीहरू अहिले पनि कामको खोजीमा भारततर्फ हिँडिरहेका छन्, तर भारतीयहरूले बर्सेनि नेपालबाट आफ्नो मुलुकमा पठाउने विप्रेषण उताबाट भित्रिनेभन्दा निकै बढी रहेको तथ्यांक सार्वजनिक भएको छ । यस्तो अवस्थामा मुलुकभित्र उपलब्ध कति कामका लागि आफ्नै नागरिकको दक्षता वृद्धिमा सरकारले जोड दिनुपर्छ । यसका लागि केही समय लाग्ने भए पनि तत्काल संकटमा परेकाहरूलाई उपलब्ध कार्यक्रममार्फत लाभान्वित तुल्याउन ढिलाइ गर्नु हुँदैन । यस्तो बेला पनि सरकार त्यसै चुपचाप बसिरहेर नागरिकहरूलाई प्रवास जान बाध्य तुल्याउनु जानीजानी उनीहरूलाई असुरक्षातर्फ धकेल्नु हो, यो भूल दोहोर्‍याइरहनु हुँदैन ।

सम्पादकलाई चिठी

राष्ट्रिय सभा कि डम्पिङ साइट ?

- कान्तिपुर संवाददाता

राष्ट्रिय सभामा चोरबाटोबाट जनताद्वारा अस्वीकृत व्यक्तिहरूलाई लाज पचाएर भटाभट मनोनयन गर्नॅ दुर्भाग्यपूर्ण मात्र होइन, जनमतप्रतिको तिरस्कार हो । राष्ट्रिय सभामा विज्ञ, नैतिकतावान् र देशलाई आवश्यक पर्ने व्यक्तिलाई मनोनयन गर्नॅपर्ने हो । तर हरूवा नेताहरूलाई खुसी पार्न र सत्ता टिकाउन भर्तीकेन्द्र बन्न पुगेको छ माथिल्लो सदन । प्रत्यक्ष चुनावमा हारेका तर २०४६ सालयता सधैं सत्ताको स्वाद पाइरहेका र पाँच वर्ष पनि पर्खन नसक्ने थोत्रा र पुराना अनुहारको जालोमा जकडिँदै छ राष्ट्रिय सभा । त्यस्ता नेताहरू देशहित र जनहितको काम गर्न
राष्ट्रिय सभामा जान आतुर भएका
होइनन् कि, व्यक्तिगत स्वार्थपूर्तिका लागि खुट्टा उचालेका हुन् । बारम्बार मन्त्री भएर पनि महत्त्वपूर्ण र सम्झनयोग्य काम गर्न नसकेकाहरूले अहिले नेपाललाई स्विट्जरल्यान्ड र सिंगापुर बनाउँछु भन्नु सोह्रै आना भ्रामक कुरा हो । कमिसन आउने, आगामी चुनावका लागि सजिलो हुने र आफ्नो आर्थिक अवस्था अझ सबल र मजबुत हुने भएकाले सत्ता र शक्तिका लागि मरिहत्ते गर्छन् नेताहरू । संविधानको मर्मअनुसार राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका व्यक्तिहरूलाई लैजानुपर्ने राष्ट्रिय सभामा घुमीफिरी तिनै थोत्रा अनुहार आउनु नेपाली जनताकै दुर्भाग्य हो । त्यस्ता ठाउँमा पतित, अयोग्य र भ्रष्टहरूलाई पटकपटक मौका दिइन्छ । राष्ट्रिय सभा र समानुपातिक
दुवै शीर्ष तहका नेताहरूकै आसेपासे, नातागोता, पैसावाल, व्यापारी, ठेकेदार र बिचौलियाहरू सरकारमा पुग्ने सिँढी बनेका छन्, मानौं ती डम्पिङ साइट हुन् ।
– रोशन भट्टराई, इनरुवा–३, सुनसरी
युद्धस्तरमा शैक्षिक पूर्वाधार बनाऊ
यो शैक्षिक वर्षको चार महिनाभन्दा बढी समय खेर गइसकेको छ । अझै कति जाने हो यकिन छैन । शिक्षा मन्त्रालयले ढिलै भए पनि वैकल्पिक कक्षालाई नै मान्यता दिएर शैक्षिक वर्ष जोगाउने रणनीति अपनाउने तयारी गरेको छ । एक हिसाबले यसलाई सकारात्मक रूपमा लिए पनि अर्को हिसाबले यो आधाभन्दा बढी विद्यार्थीका लागि अव्यावहारिक हुने देखिन्छ । पहिलो कुरा धेरै विद्यार्थी इन्टरनेटको पहुँचबाट निकै टाढा छन् । मोबाइलकै कुरा गर्ने हो भने अझै पनि कतिपय श्रमजीवी वर्गको हातमा मोबाइल पुगेको छैन । राम्रो नेटवर्क नटिप्ने ठाउँमा डाटाको प्रयोग गरेर कक्षा लिन सक्ने अवस्था छैन । रेडियो टेलिभिजन पनि सबैको पहुँचमा पक्कै छैन यदि भइहाले पनि एकोहोरो सुनेर, हेरेर मात्रै विद्यार्थीले उपल्लो कक्षामा जानका लागि आवश्यक ज्ञान पाउन सक्दैनन् । सरकारले यो वर्षका लागि छुट्टै पाठ्यपुस्तक निकाल्ने अन्तिम चरणको तयारीमा रहेको बताए पनि ती पाठ्यक्रम सबैको हातहातमा पुग्न समय लाग्ने देखिन्छ । मन्त्रालयको पछिल्लो रणनीति आगामी असोज १ देखि वैकल्पिक कक्षालाई औपचारिक रूपमा अगाडि बढाएर शैक्षिक सत्र जोगाउने भन्ने छ । भन्न जति सजिलो हुन्छ त्यसलाई व्यवहारमा उतार्न उत्तिकै कठिन छ । सामान्य बेलामा पनि शैक्षिकसत्र सकिनै लाग्दा कतिपय जिल्लामा पाठ्यपुस्तक नपुगेका समाचार बाहिर आइरहेकै हुन्थे भने अहिलेको अवस्थामा यतिबेला पाठ्यपुस्तक प्रकाशन गरेर देशभरि
वितरण गर्न भ्याइन ।
निजी विद्यालयहरूले वैशाखदेखि नै वैकल्पिक कक्षा सञ्चालन गर्दै आएको भन्ने मन्त्रालयको भनाइ एकाध विद्यालयका लागि मात्र मेल खान्छ । त्यसमा पनि सबै विद्यार्थी सहभागी भएका छैनन् ।
–सुजन देवकोटा, पालुङटार–४, गोरखा

सम्पादकलाई चिठी

राज्यको ढिकुटीको दुरुपयोग

- कान्तिपुर संवाददाता

‘महामारीका बेला मन्दिरमा लगानी’ समाचार पढेपछि केही टिप्पणी गर्न मन लाग्यो । देशको परिस्थितिअनुसार जनताको हितमा अधिकतम राज्यकोषको उपयोग गर्नुपर्नेमा तत्कालीन आवश्यकताबाहिर गएर राज्यको ढिकुटी खर्चिनुको औचित्य के ? अहिले राज्यको पहिलो कर्तव्य जनताको स्वास्थ्य सुरक्षा होइन र ? संविधानप्रदत्त स्वास्थ्य अधिकारका न्यूनतम सेवा सुविधाहरू, स्वास्थ्य क्षेत्रका पूर्वाधार खडा गर्नुपर्ने पहिलो प्राथमिकतालाई भुलेर मठमन्दिरहरूमा लगानी गर्नु कत्तिको सान्दर्भिक होला ? कोरोना महामारीका कारण न्यूनतम स्वास्थ्य उपचार नपाएर जनता सडकमै भकाभक ढल्ने विकराल परिस्थिति निम्तिने आकलन भइरहेको बेला राज्यको ढिकुटीबाट पर्यटन प्रवर्द्धन, संस्कृतिको जगेर्नाका लागि भन्दै हजारौं मन्दिर निर्माणमा करोडौंको बजेट विनियोजन गरेर खर्च देखाउने कार्य कत्तिको समय सान्दर्भिक हो ? के यही हो सरकारको दूरदर्शिता ? सही समयमा सही निर्णय गर्नुपर्ने राज्यको जनताप्रतिको कर्तव्य र उत्तरदायित्व यही हो ? सत्तारूढ दललाई ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं कुर्सीको खिचातानी र सत्ताको लुछाचुँडीमा लिप्त भइरहेको आरोप लागिरहेको छ । तीनै तहका सरकारले महामारीको बेला गर्नुपर्ने काम नगरेकाले बिग्रिएको सार्वजनिक छविलाई सुधार्न सकेको छैन । यस्तो बेलामा यी समाचारले सरकारमा बस्नेहरूको ध्यान तान्न किन नसकेको होला ?
रेवती पन्तको नेतृत्वमा स्थापना भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हालै मात्र सर्लाहीको लालबन्दीमा सर्प पाल्न र विष उत्पादन गर्न भनेर संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकाको स्थानीय सरकारबाट सम्झौता गरी ७२ करोड रकम विनियोजन भएको खबर आएको थियो । जनताले तिरेको करबाट बनेको राज्यको ढिकुटीबाट प्रतिष्ठानका नाममा करोडौं विनियोजन भएको यो एउटा उदाहरण मात्र होइन । सत्तारूढ दलकै नेताहरूले स्वर्गीय नेताहरूका नाममा प्रतिष्ठानहरू खोलेर, त्यसको नेतृत्व गरेर राज्यका निकायहरूबाट राष्ट्रिय महत्वका दीर्घकालीन योजनासरह बर्सेनि नियमित रकम विनियोजन गराउने र प्राप्त बजेट नेता–कार्यकर्ताहरूका लागि परियोजना बनाएर खर्च देखाउने परिपाटी अहिले संस्थागत भइसकेको छ । के यो राज्यकोषको दुरुपयोग होइन र ? आम नागरिकले तिरेको करबाट राजनीतिक दलका प्रतिष्ठानहरूलाई बजेट विनियोजन गर्न मिल्छ र ? राज्यको ढिकुटीमा ‘आफ्नै हात जगन्नाथ’ भनेझैं भएन र यो ? गलत संस्कार र परम्पराको नजिर बस्दै आएको होइन र यो ?
पूर्वएमालेका च्याउसरि प्रतिष्ठान, मदन भर्सेस पुष्पलाल भनेर गत हप्ता अनलाइन खबरमा समाचार सार्वजनिक भएको थियो । जसमा माधवकुमार नेपाल अध्यक्ष रहेको पुष्पलाल स्मृति प्रतिष्ठान, ईश्वर पोखरेल नेतृत्वको मनमोहन स्मृति प्रतिष्ठान, प्रदीप नेपाल नेतृत्वको मदन आश्रित स्मृति प्रतिष्ठान, उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसन, योगेश भट्टराई नेतृत्वको मदन भण्डारी अध्ययन केन्द्र, रामकुमारी झाँक्री नेतृत्वको सहाना प्रधान प्रतिष्ठान, गोपाल शाक्य नेतृत्वको तुलसीलाल स्मृति प्रतिष्ठान, लोककृष्ण भट्टराई नेतृत्वको पुष्पलाल अध्ययन केन्द्र, गुरु बराल नेतृत्वको मदन स्मृति प्रतिष्ठान, ऋषिराम जैसीको नेतृत्वमा रहेको यदु स्मृति प्रतिष्ठान, प्रकाश ज्वालाको नेतृत्वमा रहेको नेत्रलाल अभागी प्रतिष्ठानलगायत संस्था सक्रिय रहेको कुरा आएको छ । यी र यस्तै प्रकारका राजनीतिक पहुँचका संघसंस्थाहरू राज्यको ढिकुटीबाट नियमित बजेट प्राप्त गर्ने भाग्यमानी संस्थाहरू हुन पुगेका छन् । कतिपय प्रतिष्ठानले पार्टी कार्यालयमै गैरसरकारी संस्थाको रूपमा कार्यालय स्थापना गरेर राजनीतिक पहुँचको आधारमा सबै सरकारी निकायमा परियोजनाको रूपमा प्रस्तावहरू पठाउने र नियमित बजेट प्राप्त गर्ने आधार बनाएका छन् ।
राजनीतिक दलका भ्रातृ संगठनहरूले जस्तो स्थानीय तहहरूसम्म शाखा, उपशाखाहरू खोली स्थानीय कार्यकर्ताहरूलाई बजेट परिचालनमा खटाउने राम्रो आधारशिला खडा गरेका छन् । सत्तारूढ दलले मात्र होइन, अन्य दलले पनि यसरी आफ्ना नेताहरूका नाममा प्रतिष्ठानहरू खोल्ने र राज्यको ढिकुटीबाट बजेट प्राप्त गरी सञ्चालन गर्ने गरेको पाइन्छ । जति नै लोकतान्त्रिक व्यवस्था, समावेशी चरित्रको राज्य स्थापना गर्ने सपना जनतालाई देखाए पनि दलीय आस्थाका आधारमा यस्ता संस्थाहरू स्थापना गरी राज्यकोषको ढिकुटी परिचालन गर्ने संस्कारले लक्षित समुदायको उत्थान र विकास केवल भाषणमा सीमित भएको छ । लोकतन्त्र पुनःस्थापना भएपछि विगत डेढ दशकमा देशैभर यस्ता संस्थाहरूले राज्यकोषबाट कति बजेट पाए, के के शीर्षकमा खर्च गरे र त्यसको उपलब्धि समाजले के प्राप्त गरेको छ भनेर खोजी गर्ने समय आएन र ?
–नोदनाथ त्रिताल, चौविसे गापा–३, धनकुटा

दृष्टिकोण

आज सत्ताको जात्रा छ !

- राजेन्द्र महर्जन

 

कोरोना महाव्याधिका बेला पनि केही संस्कृतिप्रेमीलाई किन ज्यानभन्दा पनि ‘बुंग द्यः’ को जात्रा प्यारो भएको होला ? कोरोना भाइरसले दिनकै दसौं जनाको ज्यान लिइरहेको समयमा केही जात्रालु नेवार
आफ्नो ज्यानको वास्तै नगरी किन ‘करुणामय द्यः’ को रथ तान्न निस्केका होलान् ? राज्य र राज्यसञ्चालकहरू लकडाउन र अघोषित कर्फ्युमा रमाउँदै, रोग र भोकले ज्यान गुमाउने प्रजाको लास र कोरोना संक्रमितको सास गन्दै बसेको कालखण्डमा काल निम्त्याउँदै किन केही अभियन्ता रातो मच्छिन्द्रनाथको रथयात्राका लागि दबाब दिन भन्दै ‘पूच्व’ (पुलचोक) मा जात्रा गर्न पुगेका होलान् ? ती अभियन्ता र भक्तजनहरू पनि महाव्याधिको सुवर्ण मौका छोप्दै सत्तासीनहरूबीच कुनै पूर्वअध्यक्ष–प्रधानमन्त्रीलाई सर्पपालनको नाममा पौने अर्ब रुपैयाँ त कुनै पूर्वउपाध्यक्ष–उपप्रधानमन्त्रीलाई राष्ट्रिय सभा सदस्यको पदको उपहार लेनदेन हुँदै गरेको रमिता हेरीकन मज्जासँग बसिराखे हुने नि !
सत्ता–शक्तिको लेनदेन र मोलमोलाइलाई बेवास्ता गर्दै, ‘तीन सहर नेपाल’ का अधिपतिको निषेधाज्ञालाई मिच्दै जात्राका लागि सडकमा उत्रनेहरू खासमा ‘असम्बन्धित र बेसरोकारवाला तत्त्वहरू’ थिए । सिंहदरबार र जिल्लाका दरबारमा बस्ने सत्ताधीशहरूको पञ्चायतकालीन भाषामा रथ तान्न खोज्नेहरू ‘उच्छृंखल तत्त्वहरू’ थिएÙ स्थानीय सत्ताका मठाधीशहरूको परिभाषाअनुसार प्रहरीको लाठी, पानीको फोहोरा र अश्रुग्यास खानेहरू ‘बाह्य तत्त्व’ थिए । प्रहरीसँग भिड्ने र ट्राफिक प्रहरीलाई चुट्ने भीड त धेरैजसो मानिसका नजरमा ‘अराजक, असभ्य, गैरजिम्मेवार र हिंस्रक शक्ति’ थियो । नयाँ महाराजाहरूको कुलीनतन्त्रमा सत्ताको भाषा र भाष्यमा पनि फेरबदल नहुने रहेछ ।

भीडको झोंक र ॅकोरोना–हिंसा’
पक्कै पनि एक निर्दोष ट्राफिक प्रहरीलाई चुट्ने भीडको हिंस्रक रबैया हेर्दा त कोरोनाले तिनको दिमागलाई पनि नराम्ररी सन्काएकै आभास हुन्थ्यो । रुकुममा नवराज विकसहित ६ जना युवाले दलित–नदलित प्रेमविरोधी भीडको हिंस्रक हमलामा परी बीभत्स रूपमा ज्यानै गुमाएझैं ललितपुरमा ‘मोब लिन्चिङ’ प्रकरण दोहोरिने खतरा नभएको होइन । त्यही भीडमा ट्राफिक प्रहरीलाई जोगाउने र भगाउने व्यक्तिहरू पनि भएको तथा प्रहरी पनि नजिकै तैनाथ रहेको तथ्य हेक्का राख्नलायक छ, जसले यस्तो सम्भावनालाई टारेको देखिन्छ ।
कुनै शंका छैन, रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउन दबाब दिने क्रममा भएको स्वतःस्फूर्त प्रतिरोधमा पनि अमानवीयता प्रदर्शन भयो, त्यो भर्त्सनायोग्य छ । योभन्दा अमानवीय हिंसा प्रहरीले ‘पूच्व’ मा मात्रै होइन, अन्यत्र पनि पटक–पटक देखाए पनि व्यक्ति र भीडको हिंसालाई जायज ठहर्‍याउन सकिँदैन । सडकमा तरकारी बेच्ने सरस्वती (सुभद्रा) मैनाली र बैजु साह जस्तालाई प्रहरी–राज्यले थोपरेका हिंसाको फेहरिस्त दिएर अरूको हिंस्रक व्यवहारलाई तार्किक मान्न सकिँदैन । हो, जर्मन समाजशास्त्री म्याक्स वेबरले भनेझैं राज्यसँग हिंसामाथि एकाधिकार छÙ त्यो एकाधिकारमाथि प्रतिरोधी शक्तिबाट चुनौती दिने काम नभएको होइन । मानौं, पूच्वमा पनि हाँक नै दिइएको होला, तर त्यसलाई जायज वा मानवीय मान्न सकिँदैन ।
राज्यका तर्फबाट जसरी ‘कोरोना–हिंसा’ थोपरिँदै छ, हिरासतमै शम्भु सदा र विजय राजजस्ता दलित मारिँदै छन्, मानवीय र कानुनी कोणबाट त्यसको वैधता र औचित्यमाथि जब्बर प्रश्न उठेको छ । र, धेरैजसो प्रतिरोधका क्रममा हिंसात्मक प्रदर्शनका लागि राज्यका यस्तै अवैध र औचित्यहीन कामकारबाही कारकतत्त्वका रूपमा नेपथ्यमा लुकिरहेका हुन सक्छन् । त्यस्तै, सामाजिक सञ्जालमा भएका अधिकांश बहस र केही मिडिया रिपोर्टिङमा रथयात्रा विवादबारे ‘कारण’ खोतल्नेभन्दा ‘प्रभाव’ मा प्रतिक्रिया हावी भएको छ, जसले समस्याको सही तस्बिर पेस गर्ने सम्भावना नै हुँदैन । यस्तो प्रतिक्रियावादी रबैयाले राज्यको हिंसात्मक संरचना र चरित्र बुझ्न सघाउँदैन, बरु राज्यसत्ताकै स्वरमा स्वर मिलाएर साम्प्रदायिक हिंसालाई मलजल गर्छ ।
सत्ताको बोलीमा लोली
ट्राफिक प्रहरी नराम्ररी चुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भीडलाई मात्रै होइन, सिंगो नेवाः समुदायलाई नै लक्षित गरी गालीगलौज गर्ने र द्वेष–घृणा फैलाउने साम्प्रदायिक अभियानै चलेको पाइयो, जुन दुःखद पक्ष हो । कुनै पनि व्यक्ति, समूह वा समुदायलाई असभ्य, असहिष्णु, हिंस्रक, पुरातनवादी र जातिवादी आरोप लगाउने दुष्कर्मले साम्प्रदायिक द्वन्द्व र जातीय दंगा फैलाउने खतरा हुन्छ । संयोग भनौं या सामान्य यथार्थ, आज नेवाः समुदायविरुद्ध साम्प्रदायिक अभियान चलाउनेहरू हिजोसम्म दलितहरूको सामूहिक हत्यालाई जातीय संहार होइन भन्दै टुप्पी कसेर कराउनेहरू थिए । त्यसअघि उनीहरू नै विदेशी पुरुषसँग बिहे गर्ने नेपाली महिला र तिनका सन्तानको नागरिकता र नागरिक हकविरुद्ध ‘राष्ट्रियता’ को गुलेली बर्साउँदै थिए । त्यसअघि आन्दोलनकारी मधेसीहरू मारिँदा ‘राष्ट्रवाद’ भट्याउँदै थिए र थारू आन्दोलनकारीहरूलाई त ‘विदेशीद्वारा प्रायोजित हत्यारा’ ठहर्‍याउँदै अखण्ड प्रलाप गर्दै थिए ।
सधैं अरू सबै सभ्यता, लिंग र क्षेत्रका समुदायलाई अराजक, अराष्ट्रिय र असभ्य ठान्ने अनि आफूलाई मात्रै जहिले पनि सभ्य, श्रेष्ठ, पवित्र, राष्ट्रिय मान्ने ! यो कसरी गैरनस्लवादी र जातिवादइतर सोचाइ र व्यवहार हुन सक्छ ? आफ्नो नस्लको शुद्धता र स्वजात–जातिको श्रेष्ठताको कोणबाट मात्रै सोच्ने, शास्त्र लेख्ने, शस्त्रअस्त्र प्रयोग गर्ने तथा त्यसलाई वैधता र वैधानिकता दिने सत्ताधारी शक्ति एवं सत्तानिकट बुद्धिजीवीहरूले जात्रा प्रकरणमा पनि दुइटा काम गर्न भ्याए । एक, कुनै पनि घटनाको कार्य–कारण सम्बन्ध (कजालिटी) लाई बेवास्ता गर्दै सांगोपांग वा समग्रतामा नहेर्ने । दुई, इतिहासलाई विरूपीकरण र अन्य समुदायको दानवीकरण गर्दै सत्ता–शक्तिको भाष्यमा आमसम्मति (जेनेरल कन्सेन्सस) निर्माण गर्ने ।

बेवास्ताको जाल
प्रहरी वा राज्यबाट भएको अनावश्यक बलप्रयोग वा हिंसालाई नदेखाउने र गुलेलीले हान्न खोजेका प्रौढलाई मात्रै देखाएर समुदायलाई दानवीकरण गर्ने क्रम जारी छ । नेवाः संस्कृति, सम्पदा र स्रोत–साधनको पक्षमा आवाज उठाउँदै आएका अध्यापक अशोककुमार महर्जन र अभियन्ता यादवलाल कायस्थसँगै १६ जनालाई पूच्व दुर्घटनापछि धरपकड गर्दै हिरासतमा राखिएको छ । उनीहरूमध्ये केही व्यक्तिलाई कुटपिट र यातनासमेत दिने काम हुँदै छ, जसले यस प्रकरणको कार्य–कारण सम्बन्धलाई बेवास्ता गर्छ । रथयात्रा काण्डका खास कारण खोतल्दा कोरोनाको निहुँमा झन् शक्तिशाली भएको, संविधानले नचिन्ने राज्यसंयन्त्र — सीडीओ — को अकर्मण्यता तथा गुथि (गुठी) को नाममा भूमिसँगै धार्मिक–सांस्कृतिक अनुष्ठानमाथि राज्यको नियन्त्रण कायम गर्दै आएको गुठी संस्थानको अनिर्णयलाई पटक्कै उपेक्षा गर्न मिल्दैन ।
त्यस्तै, सरोकारवाला गुठियार र अधिकारवाला संघसंस्थाले सीडीओ कार्यालय, गुठी संस्थान, स्थानीय सरकार, केन्द्रीय सरकारसँग मात्रै होइन, राष्ट्रप्रमुखलाई समेत महाव्याधि जारी रहेको अवस्थामा रथयात्राको वैकल्पिक प्रस्ताव र बुद्धिमानीपूर्ण निकासका लागि गरेका लिखित अनुरोध र ताकेताको कुनै सुनुवाइ नहुनु आफैंमा पनि आपराधिक बेवास्ताभन्दा कम थिएन । पार्टी फुटाउने अनावश्यक विधेयकलाई स्वीकृत वा फिर्ता गर्ने काम घण्टाभरमै तमाम गर्न सक्ने राष्ट्रपतीय संस्थाले समेत ‘विश्वसम्पदा’ मा सूचीकृत रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा र मूर्त–अमूर्त सांस्कृतिक आचरणबारे सरकारलाई जवाफदेह बनाउन नसक्नु लाजमर्दो कुरा हो । विस्थापित राजाकै शैलीमा राष्ट्रप्रमुखको हैसियतले ‘प्वाकलं क्यनेगु’ (भोटो देखाउने) जात्रा अवलोकन गर्नमा रुचि देखाउँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले संकेत मात्रै गरेकी भए पनि ओली सरकारले रातारात नाकाचालले निर्णय र पहल गर्थ्यो ।
कोरोना महाव्याधिमा आम जनतालाई भोकै–प्यासै थुन्ने र आसेपासे पुँजीजीवीलाई पोस्ने काममा लिप्त ओली सरकारबाट नेवाः सभ्यतासँगै अन्य समुदायका मूर्त–अमूर्त सांस्कृतिक आचरणबारे संवेदनशीलताको अपेक्षा राख्नु आफ्नै विवेक र आशालाई व्यंग्य गर्नु हो । अयोध्या र रामको पछि लाग्ने सरकारमा पित्को मात्रै संवेदनशीलता भएको भए आजभोलि जेजस्तो आपत्कालीन अनुष्ठान गरिँदै छ, ती सबै रीतिरिवाज भदौ १८ गतेअघि नै अभ्यास गर्दै रथयात्रालाई सहज गरिसक्थ्यो । ‘पूच्व रथकाण्ड’ पछि पनि उसले ‘बुंग द्यः’ का सरोकारवाला र अधिकारवाला पक्षहरूसँग न गम्भीर संवाद गरेको छ, न त आपत्कालीन अनुष्ठानको माग गर्दै सडकमा दबाब दिने सांस्कृतिक अभियन्ताहरूलाई ससम्मान रिहा गरेको छ । राजतन्त्रकालीन राज्यजस्तै गणतन्त्रकालीन राज्यका सरकार र यसका अंगहरू पनि नियन्त्रणकारी सत्ताको स्वाद, आदेश–निर्देशको अभ्याससँगै औपनिवेशिक सोचाइले ग्रसित छन् ।

संवेदनहीन सत्ता र शासक
हेक्का रहोस्, ‘बुंग द्यः जात्रा’ चौध–पन्ध्र सय वर्षभन्दा अघिदेखि राजाज्ञा वा राज्यादेशबाट होइन, खेतीपाती गर्ने प्रजाहरूको बलमा चलिरहेको छ । विशेषतः ‘बुंग/बुंगाः’ (कुवा) र पानी–वर्षा–खेतीसँग जोडिएको समृद्धिको सपना, ज्यापू समुदायसँगै विभिन्न नेवाः समुदायका गुथिको संरचना, उनीहरूको स्वैच्छिक सहभागिता र समन्वयात्मक सहकार्य तथा केही आयस्रोतको भरमा यो जात्रा चालु रहेको छ । किसानहरूले सहकाल र वर्षाको देउताका रूपमा पुज्दै, रथ तान्ने मामिलामा जमानादेखि महिलाहरूको, त्यसमा पनि एकल महिलाहरूको समेत सहभागिता सुरक्षित गर्दै जारी राखिएको जात्राको लौकिक पक्षलाई महत्त्वहीन ठान्न सकिँदैन । त्यसो त विभिन्न कालखण्डका राज्यसत्ताले यसको नाम, अनुष्ठान र भूमिमा गरेको चलखेललाई नजरअन्दाज गर्न मिल्दैन ।
नेवाः सभ्यताकी विज्ञ मेरी स्लस्सरका अनुसार स्थानीय ‘माजु’ वा ‘अजिमा’, आदिवासीहरूका ‘बुंग द्यः’ ले सहस्राब्दीपछि कसरी बुंग लोकेश्वर र अवलोकितेश्वरमा ‘मेटामर्फोसिस’ (कायान्तर) गरे, अध्ययनयोग्य छ । छैटौं शताब्दीसम्म कायम रहेको लिच्छविकालमै प्रख्यात भइसकेको बौद्ध धर्मावलम्बीहरूको अवलोकितेश्वर–बुंग द्यः सत्रौं शताब्दीमा आएर हिन्दु शैव धर्मावलम्बीहरूको रातो मच्छिन्द्रनाथमा कसरी रूपान्तरित भयो, अध्येता जेके लक र मानवशास्त्री अन वर्गतीले खोतलेका छन् । राज्यसत्तामा कुन नस्ल, जाति, धर्मका शासक सवार भए, तिनकै धार्मिक मूल्य–मान्यता र भाषाअनुसार बुंग द्यः को नाम पनि फेरिँदै जाने, त्यहीअनुरूप मिथकीय कथा लेखिँदै जाने ऐतिहासिक तथ्य प्रस्टै देखिएको छ । आम जनताबीच लोकप्रिय ‘माजु’ वा ‘अजिमा’ वा ‘द्यः’ का पूजाआजा–जात्रा–अनुष्ठानलाई पनि सहवरण गर्न, सत्ताको अभ्यास र प्रभुत्व–वर्चस्व स्थापित गर्न उपयोग गर्ने मामिलामा राजा–महाराजादेखि राष्ट्रपतिसम्म पनि पछि परेको देखिएन । यसरी उपयोग गर्ने नयाँ–पुराना शासकमा अन्य जुनसुकै समुदायको भए पनि तिनका पूजाआजा–जात्रा–अनुष्ठानका संवेदनशीलता, त्यसप्रति आस्था राख्ने जनताको धर्मचित्त, मूर्त–अमूर्त सांस्कृतिक सम्पदा र सभ्यताको धरोहरप्रतिको सम्मानमा खडेरी प्रकट हुँदै आएको छ । यस्तो सांस्कृतिक लोकतन्त्रविपरीतका रमिता, दमन वा (अ)सांस्कृतिक हिंसा कुनै धर्मनिरफेक्ष, लोकतान्त्रिक र जनमुखी शासनसत्ता र सरकारले गर्न सक्दैन ।

Page 7
दृष्टिकोण

हाम्रो विकासको उपयुक्त मोडल

- रामचन्द्र पौडेल

 

कोही ‘आधुनिक चिन्तनवादी’ मित्रहरूसँग कतिपय प्रसंगमा मेरो ‘वेभलेन्थ’ नमिलिरहेको अनुभव गरेको छु । उहाँहरू मेरा विकाससम्बन्धी अवधारणालाई पुरातन ठान्नुहुन्छ । मैले गाउँमुखी अर्थनीतिभन्दा उहाँहरू अमेरिकाको नक्सा देखाउँदै भन्नुहुन्छ, ‘ल हेर्नोस्, अमेरिकाको जनसंख्याको ८० प्रतिशत भाग वासिङ्टन, न्युयोर्क, सान फ्रान्सिस्को जस्ता ठूला सहरहरूमै बस्छ ।’ मेरो विमति त्यहीँनेर छ— यो विकास वास्तविक विकास नै हैन र मानव हितकारी पनि छैन । आज पृथ्वीमा समस्या नै यही मोडलको विकासले ल्याएको हो ।
मैले गाउँ विकासको कुरा गर्दा सहरको भविष्यलाई ध्यान दिइरहेको हुन्छु । मैले झोपडीको कुरा गर्दा महलको सुरक्षा त्यसैमा अन्तर्निहित देख्छु । मैले गरिबको उत्थानको कुरा गर्दा धनीको शान्ति र अमनचयन ख्याल गरिरहेको हुन्छु । दलितको मुक्तिको कुरा गर्दा गैरदलितको युगानुकूल सभ्यता याद गरिरहेको हुन्छु । यो मर्मको गहिराइमा मेरा मित्र बुद्धिजीवी प्रवेश गर्न चाहँदैनन् । मेरो विचारलाई कसैले अपुरो भने पनि अधुरो भने पनि मैले देखेको नेपालको दिगो विकास र समृद्धिको आधार भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र जलशक्तिको विकास नै हो ।
विश्वका शास्त्रीय तथा आधुनिक दुवै थरी अर्थशास्त्रीहरूले विकासका धेरै थरी सिद्धान्त प्रस्तुत गरिसकेका छन् । म ती कुनैलाई समात्नपट्टि जान्नँ । मैले बुझेको नेपाल, मैले देखेको नेपालको गरिबी र नेपालका जनता, मैले अनुभव गरेको नेपालका सम्भाव्यता र आवश्यकताका आधारमा म आफ्ना कुरा राख्न चाहन्छु । अहिले सी चिनफिङ र उनका अनुयायीहरू चिनियाँ विशेषतासहितको समाजवाद भन्छन् एवं नरेन्द्र मोदी भारतीय परम्पराअनुसारको आत्मनिर्भर भारत र आफ्नै विशेषताअनुरूपको विकासको कुरा गर्छन् । हाम्रो त झन् अति विशिष्ट प्रकृति र विशिष्ट संस्कृति छ । हामीले आफ्नै विशेषता किन नअँगाल्ने ?
कोरोना विषाणुको महाव्याधिले विश्व हल्लाउँदा, रोजगारीको खोजीमा गाउँ छाडेर सहर पसेका वा स्वदेशमा रोजगारीको कुनै सम्भावना नदेखी बाध्यतावश बिदेसिएका नेपाली युवायुवतीहरू पुनः आफ्नै घरगाउँ खोज्दै फर्किरहेका छन् । यो अवस्था नआउँदा पनि हामीले यही काठमाडौंमा सहरका सडक साना भएर जनताका घरमाथि डोजर चलाउनुपरेको, बाहिरी चक्रपथको खोजी गर्नुपरेको थियो । त्यति गर्दा पनि सिंहदरबारबाट बालाजु पुग्न घण्टौं लागिरहेको तीतो अनुभव छ । अझ वातावरणीय प्रदूषणले सास फेर्नै गाह्रो भएको र जीवन खतरामा परिरहेको छ उपत्यकावासीको । हाम्रो उदीयमान आधुनिक सहरमा यस्तो अवस्था आउनु चिन्ताजनक छ ।
के राम्रा स्कुल, राम्रा अस्पताल, उद्योग–व्यवसाय सबै यही उपत्यकामा कोच्नु जरुरी छ त ? अहिलेका सहरभन्दा बाहिर बस्नलाई ठाउँ छैन र ? विश्वका सबै खाले आर्थिक सिद्धान्त र अर्थव्यवस्था बुझेका भनिने, प्राज्ञिक अनुसन्धानमै बढी लागेका र त्यसैमा अधिक विश्वास राख्ने हाम्रा योजनाविद्हरूको औचित्य के हो त ? उनीहरूले नेपाललाई विशुद्ध नेपाली भएर नेपालको विकासको उपयुक्त मोडलबारे दिमाग खेलाउन पर्दैन ?
नेपालले आजको युगमा पनि दक्षिण अमेरिकाको नियतिजस्तै परनिर्भरताको सिद्धान्तकै वरिपरि रुमलिइरहनुपर्ने हो भने, हाम्रा ज्ञान, योग्यता, अनुसन्धान आदि के प्राज्ञिक अभ्यासकै लागि मात्र गरिएका हुन् त ? बरु हाम्रो चौथो योजनाले अंगीकार गरेको ग्रोथ–पोल सिद्धान्तले नेपाललाई सन्तुलित विकासको मार्गमा अगाडि बढाउन खोजेको थियो । नेपालको उत्तर–दक्षिण र पूर्व–पश्चिमलाई एकसाथ अघि बढाउन त्यो प्रयास सकारात्मक थियो । पाँचौं योजनाको एकीकृत विकास र पछिका आधारभूत आवश्यकताका सिद्धान्तहरूको ठीकसँग कार्यान्वयन गरिएको भए नेपाल र नेपालीलाई आत्मनिर्भरतातर्फ अघि बढाउन सकिन्थ्यो कि त ?
बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनाको सुरुका दिनमा स्थानीय सरकारबारे अध्ययन गर्न मैले जर्मनी जानुपर्ने भयो । त्यसअघि यहाँ रहेको जर्मन नियोगका एक सदस्यसँग मैले ‘तपाईंका जर्मनीका गाउँ कस्ता छन् ?’ भनेर सोध्दा जवाफ पाएको थिएँ, ‘हाम्रो जर्मनीमा गाउँ नै छैनन् । सबै गाउँ नगर बनिसके । नगरमा जे–जे सुविधा छन्, ती सबै गाउँमा पुगिसके ।’ त्यहाँ मलाई जर्मनीले आफ्नो विकासमा फ्रायडम्यान लगायतका विद्वान्हरूको एग्रोपोलिटन सिद्धान्त अँगालेर अगाडि बढिरहेको कुरा बुझाइएको थियो । यसअनुसार ग्रामीण क्षेत्रलाई नै सहरका सबै सुविधा उपलब्ध गराई गाउँलाई नै सहर बनाइएको रहेछ भन्ने मेरो बुझाइ रह्यो ।
भनेपछि, हाम्रो नेपालमा पनि यहाँ सहरमा जे–जे सुविधा प्राप्त छन् ती सबै गाउँमा पुर्‍याएर उहीँ सजिलोसँग खुकुलो गरी बस्न किन नहुने ? प्राकृतिक सौन्दर्यले भरिएको यति राम्रो देशमा जता हेर्‍यो उतै ‘गाउँमै बसूँ–बसूँ’ बनाउन किन नहुने ? त्यही २०४७/४८ सालदेखि सुरु गरेर हामीले अहिलेसम्म देशका कुनाकुनासम्म बाटो–बिजुली–पानी, शिक्षा–स्वास्थ्य–सञ्चारको सञ्जाल बिछ्याइसकेका छौं । अब तिनलाई स्तरोन्नति मात्र गर्नु छ । शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय र जीवनोपयोगी बनाउनु छ । गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नु छ । कृषिमा क्रान्ति, पर्यटनको विस्तार र ऊर्जाशक्तिको विकास तथा कृषिजन्य उद्योग र साना तथा मझौला उद्यम–व्यवसायको प्रवर्द्धन जताततै गराएर त्यो अवस्था सिर्जना गर्न सकिन्छ । ‘गाउँमुखी अर्थनीति’ भनेको योभन्दा अर्को के हो र ?
नेपालको विकासले अहिलेसम्म पनि ठोस गति लिन नसक्नुमा अन्य कुराका अतिरिक्त नेपालका योजनाकारहरू, अर्थनीतिका सञ्चालकहरू र राजनीतिक नेतृत्वले समेत नेपालका लागि आवश्यक, सम्भाव्य र उपयुक्त योजना र परियोजना ठम्याएर त्यसका लागि वैदेशिक सहायता जुटाउन प्रयत्न गर्नुभन्दा दातालाई के प्रयोग गर्न मन लाग्छ, कस्ता योजना मन पर्छन्, तिनैका लागि हात थाप्नु नै मुख्य कारण हो भन्ने मलाई लाग्छ । हाम्रा योजनाविद् तथा अर्थशास्त्रीहरूले नेपाललाई राम्ररी चिन्न नसकेको मैले ठानेको छु ।
मानव विकासको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका, नोबेल पुरस्कार विजेता प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेन भन्नुहुन्छ, ‘विकास कार्यक्रमको सफलताको मापदण्ड केवल उत्पादन र आयको वृद्धि मात्र हुन सक्तैन । विकासले त मानिसहरूको सहज जीवनयापनको स्तरमा बल दिनुपर्छ ।’ आम जनताको सहज जीवन सहरहरूको विकासबाट मात्र सम्भव छैन । जनघनत्व वृद्धिले त्यसै त सहरियाहरूको जीवन कष्टकर बन्दै जान्छ, त्यसमा पनि हाम्रोजस्तो मुलुकमा ‘गाउँमुखी विकास’ मा जोड दिन नसके आम जनताको खुसियाली सहरको मृगतृष्णामा भौंतारिँदैमा कतै दुर्घटनाग्रस्त त हुँदैन ? सहरमुखी विकासको परिणाम आजको चरम भ्रष्टाचार हो । सबै कुरा तपाईं सहरमै राख्नुहुन्छ अनि मानिस सहर खोज्दै आउन बाध्य हुन्छन् । सहरमा आएपछि सानोतिनो जागिरमा लाग्यो, ओत बस्ने कम से कम एउटा घर चाहियो, अनि महँगो घडेरी चाहियो । त्यसको जोहो कसरी हुन्छ ? के नियम बमोजिमको आम्दानीले त्यो गर्न सकिन्छ ? अनि भ्रष्टाचारलाई आमन्त्रण त्यहीँबाट हुने हैन ? अनि कुन मोडलको विकास हामी गर्दै छौं ? अनि भ्रष्टाचार विकसित हुँदै जाँदा अर्बौंका कमिसन कुम्ल्याउँदै जाने र त्यसको बलमा चुनाव कब्जा गर्ने, पार्टी–सत्ता सबै कब्जा गर्ने र लोकतन्त्र नै घायल पार्ने स्थिति देखिएन र ? ग्रामीण अर्थतन्त्र सुदृढ नगरेसम्म नेपालमा दिगो विकास सम्भवै छैन । जनमुखी राजनीतिबिना भ्रष्टाचार रोकिँदा पनि रोकिन्न ।
त्यसैले म भन्छु— गाउँमुखी अर्थनीति अँगालेर जनमुखी राजनीति, श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं । सबै बाँचौं अनि स्वच्छ प्रतिस्पर्धा गरौं । सबै बाँच्नका लागि पहिले सुरक्षा चाहिन्छ अर्थात् ‘सुरक्षित बस्तीहरूको विकास’ हुनुपर्छ ।
गाउँ–गाउँमै गुणस्तरीय तथा जीविकोपार्जनमा आधारित शिक्षा, सर्वसुलभ तथा सुपथ स्वास्थ्य सेवा, आम्दानी र रोजगारीको स्थिति बनाएर, पूर्वाधार र व्यवसाय प्रवर्द्धन गरेर बसूँबसूँ नबनाउने हो भने नेपालको अस्तित्व जोगाउने विकासको त्योभन्दा दिगो मोडल अर्को कुन हो ? सहरमा मान्छे ओइरो लाग्दै छन् तर जनता अहिले पनि गाउँमा छन्, फराकिलो र स्वच्छ–स्वस्थ बस्ने ठाउँ गाउँमै छ । गाउँमुखी अर्थनीतिले मात्रै त्यहाँका प्राकृतिक संसाधन र स्रोतहरूको विकास गरी, त्यहीँको श्रमशक्तिलाई अझ दक्ष र बढी उत्पादनशील बनाउन जोड दिन्छ । त्यसो गर्न नसके नेपालजस्तो देशको समृद्धिको जग कहाँ बसाउने ?
युरोपकै विकासको इतिहास हेर्ने हो भने पनि त्यहाँ पहिले कृषि क्रान्ति भएर नै पछि मात्र औद्योगिक क्रान्ति भएको हो । द्वितीय विश्वयुद्धको विनाशपछि मार्सल प्लानको नामबाट अमेरिकाले युरोपलाई गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट समेत व्यापक औद्योगीकरण भएको हो । युरोपलाई त्यसको विकल्प थिएन । तर युरोपको सन्दर्भ नेपाललाई मिल्दैन । युरोपसँग नभएका धेरै कुरा नेपालसँग छन् । हामीसँग झलझल झल्कने हिमाल छन्, उर्लेर छङछङ गर्दै बग्ने नदीनाला छन् । जैविक विविधता र जडीबुटीले भरिपूर्ण अग्ला र हरिया पहाड छन् । विशिष्ट खालको जलवायु छ । मैले कृषिक्रान्ति त्यसै भनिरहेको छैन । राष्ट्रको ग्रामीण जीवनमा आमूल परिवर्तन नभएसम्म, किसान, कृषक महिला, भूमिहीन किसान सबैलाई सामाजिक र राजनीतिक चेतना जगाउने आधुनिक प्रविधिसँग अभ्यस्त नगराएसम्म राष्ट्रको दिगो र खँदिलो विकास सम्भवै छैन । हाल प्रचलित बजार अर्थतन्त्रले ल्याएको आर्थिक वृद्धिदर माथिल्लो तहमा बस्नेहरूको अंकको खोल मात्र हो । त्यो खोक्रो विकास हो । आम जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन र सहज जीवन दिलाउन नसक्ने विकासको के अर्थ हुन्छ ? तराईका गाउँहरूमा गएर हेरौं, पहाडका गाउँघर हेरौं । त्यहाँ जीवन कसरी चलेको छ ? कति असुरक्षित छन् बस्तीहरू ! वर्षा आयो कि पहाडमा पहिरोले मार्छ, तराईमा जीवन डुबानमा पर्छ । शीतलहर र उष्णलहरले अकालमा ज्यान गएको गयै छ । उता जनता बगेर, पुरिएर, डुबेर, पिल्सिएर र झिल्सिएर मरेका मर्‍यै गर्ने, यता शासक वर्ग, अर्थशास्त्री र योजनाविद् भनिनेहरू विकासको आँकडा प्रस्तुत गरेर कहिल्यै नथाक्ने ! भारतलाई हेर्नोस्, विश्वको छैटौं/सातौं अर्थतन्त्र कहलाइसक्यो । भारतका गाउँहरू र ग्रामीण जनताको हाल हेर्नोस्, सहरका स्लम एरियाको जीवन हेर्नोस्, के त्यही हो विकास !
त्यसैले म फेरि पनि यी सबै समस्यालाई सम्बोधन गर्ने गाउँमुखी अर्थनीति र जनमुखी राजनीतिले नै हो भन्ने गर्छॅ । जनतालाई दीनहीन अवस्थाबाट मुक्त गराउन, जनताको आवाज मुखरित गराउन र राज्यमाथि सशक्त दबाब सिर्जना गर्न जनमुखी राजनीति अपरिहार्य छ । लोकतन्त्र र पारदर्शिता अपरिहार्य छ । जनमुखी लोकतान्त्रिक राजनीति र वातावरणमा मात्रै शासकउपर जनताको दबाब र प्रभाव पर्न सक्छ । अनि राज्यका नीतिहरू त्यतातर्फ उन्मुख हुन थाल्छन् । ठूला भ्रष्टाचारी सत्ताका झन् ठूलो मालिक हैन, सजायको भागी बन्नेछन् । जनमुखी राजनीति भनेको लोकतन्त्रका नाममा हाल चलिरहेको ठालुतन्त्रबाट जनताको पहुँचमा राज्यसत्ता जानु हो, वास्तविक जनतन्त्रमा जानु हो । संविधानले जनतालाई दिने भनेर घोषणा गरेका अधिकार जुन माफिया, तस्कर र बिचौलियाहरूको सहारामा केही ठालुले केन्द्रमै केन्द्रित गर्न लागिरहेका छन्, तिनलाई खोसेर गाउँ–टोलका जनसामान्यको हातमा पुर्‍याउनु हो । अर्थनीतिसँगसँगै राजनीतिलाई सही अर्थमा विकेन्द्रित गर्नु हो । गाउँमुखी अर्थनीतिले जब आर्थिक व्यवस्थापन र बन्दव्यापारलाई गाउँमा पुर्‍याउनेछ तब राजनीति पनि डोरिएर उहीँ पुग्नेछ । अहिले खाँचो छ, हाम्रा नीतिहरूलाई त्यतैतिर उन्मुख गराउने ।
गाउँमुखी अर्थनीतिको अर्को पनि पक्ष छ— प्रकृतिमैत्री विकास ।
भुइँफुट्टा संस्कृति हैन, माटोसँग गाँसिएको विकास । चौतारी र पोखरीको सभ्यताको महत्त्व । हाम्रा रूखबिरुवा र वनस्पतिहरूले दिने शीतलता, हाम्रा वनवनेली र जडीबुटीहरूले दिने सम्पदा । हाम्रा नदीनाला र झरनाहरूले दिन सक्ने समृद्धि । हाम्रो संस्कृति र हाम्रो प्रकृतिमा जेजति अपार शक्ति र आकर्षण छ, ती कुराहरूलाई व्यवस्थित गरेर विश्वसामु प्रस्तुत गर्दा तिनले दिन सक्ने दिगो आम्दानी । यिनै कुरालाई म भन्छु वास्तविक विकास, दिगो विकास ।
‘सानो नै सुन्दर हो’ पुस्तकका लेखक शुमाकरका तर्कहरूबाट हाम्रा समाजवादी चिन्तक महामानव बीपी कोइराला पनि एकताका निकै प्रभावित हुनुभएको पाइन्छ । यो उपभोगवादी संस्कृतिले मानव जातिलाई अन्ततोगत्वा कहाँ पुर्‍याउँदै छ भनी हामीले आकलन गरेका छौं ? हेनरी फोर्डको मोडलवाला अर्थनीतिको भेलमा पश्चिमका पुँजीवादी मात्र हैन, पूर्वका साम्यवादी पनि बगिरहेको र अन्धाधुन्ध प्राकृतिक स्रोतहरूको दोहनमा दौडिरहेर त्यसैलाई विकास र उन्नति ठानिरहेको यथार्थबाट महात्मा गान्धी, शुमाकर र बीपीसमेत चिन्तित हुनुहुन्थ्यो । अहिले आएर देखियो नि त ! संसारको कथित यत्रो चामत्कारिक विकासलाई एउटा सानो विषाणुले जगैसम्म हल्लाइदिँदो रहेछ । चौतारी र पोखरीको सभ्यताबाट धेरै माथि उठिसकेको, धेरै टाढा पुगिसकेको हैन र हाम्रो जीवन ? अब त भेन्टिलेटरै पुर्‍याउन पनि गाह्रो भैसक्यो । भेन्टिलेटर पुर्‍याए पनि तिनलाई चलाउने मान्छे पुर्‍याउन गाह्रो भैसक्यो । ‘जितेगा–जितेगा, भारत कोरोना जितेगा’ भनेर नरेन्द्र मोदीहरू नारा लगाइरहने, कोरोनाले भने दिनमा ७०–८० हजारको दरमा जनतालाई आक्रान्त पारिरहने ! यही हो विकास–उन्नति ? उपचार केही छैन, जोगिएर, छलिएर र तर्किएर मात्रै बाँच्नुपर्ने !
समानता, स्वतन्त्रता र समावेशिताजस्ता जीवनमूल्यहरू गाउँमुखी अर्थनीति र जनमुखी राजनीतिमा मात्रै चरितार्थ हुन्छन् । मानवजीवनको खुसियाली प्राकृतिक जीवनबाट धेरै टाढा गएर प्राप्त गर्न सकिन्न । वर, पीपल, शमी, सिसौ, सल्लाका रूखहरूले दिने सदाबहार प्राणवायुको तुलनामा कोठाभित्रको वातानुकूलन क्षणभरलाई र सिलिन्डरमा जम्मा गरिएको अक्सिजन बिरामी तत्काल जोगाउन मात्र काम लाग्छ । अझ पीपल, शमी, रुद्राक्ष आदि वृक्षहरूले बाह्र मिटरसम्म सकारात्मक ऊर्जा प्रवाह गर्छन् भनिन्छ । गाईको अरू उपयोगिताका अतिरिक्त यसले प्रवाह गर्ने सकारात्मक ऊर्जाले समाजका विविध अपराध न्यूनीकरणमा समेत सघाउ पुर्‍याउन सक्छ ।
श्रमको सम्मान गर्ने संस्कृतिको स्वस्थ जीवनसँग कति ठूलो सम्बन्ध छ ? ‘बन्द बैठकको समय चर्खा कात्न र करेसाबारीमा बिरुवा हुर्काउन दिऔं’ भन्ने गान्धीजीको भनाइ कति अर्थपूर्ण
छ ! हाम्रो पहाडतिरका एक स्वस्थ मान्छेले भनेका थिए, ‘मेरा चार वैद्य छन्— उकालो, ओरालो, हलो र कोदालो ।’ आज यी कुरा मिति गुज्रिसकेका जस्ता लाग्न सक्छन् । तर गहिरोसँग हाम्रो शरीरको रक्त सञ्चालन, श्वास–प्रश्वास र पाचन प्रणालीबारे विचार गरौं त ! अल्छी बन्दै गएर आलस्य र मूढविश्वको वशमा पर्दै गएर आज मानिस आफैंमा कति कमजोर बनिरहेको
छ ! मान्छेको वशमा प्रविधि हैन, प्रविधिको वशमा मानिस पर्न गएर कति परावलम्बी बनेको छ ! आज विश्वमा कति मानिस डिप्रेसनका सिकार भैरहेका छन् !
त्यसैले नेपालका लागि उपयुक्त विकासको मोडलबारे राम्ररी सोचौं । नेपालजस्तो प्राकृतिक र जैविक विविधताले भरिएको र अनेक सम्भावना बोकेको तर दुई ठूला अर्थतन्त्र र शक्तिकेन्द्रबीच च्यापिएको देशले जीवित रहने र उन्नति गर्ने बाटो कुन हो त ? हाम्रा लागि विकासको उपयुक्त मोडल कुन हो ? नेपाल कसरी आत्मनिर्भर बन्ने ? बजारको खोजी कसरी गर्ने ? हाम्रो देशमा कस्ताकस्ता उद्योग–व्यवसाय चलाउने, कुन खालकालाई प्रोत्साहन गर्ने, कुनलाई प्रवर्द्धन गर्ने, यकिन गरिहाल्नुपर्ने भयो अब । यो सब विचार गरेर तर्जुमा गरिने आर्थिक नीतिलाई उपयुक्त मान्न सकिन्छ ।
हामीले सबैभन्दा पहिले जनताका आधारभूत आवश्यकता पूरा गर्नु छ । केही दशकअघिसम्म खाद्यान्न निर्यात गर्ने हाम्रो मुलुकले अहिले चामल, दाल र तरकारीसमेत आयात गर्दा झन्डै आधा खर्ब रुपैयाँ बिदेसिने गरेको छ । धान–चामल निर्यात कम्पनी बन्द भएको धेरै समय भएको छैन । अझ, हामीले आर्थिक उन्नति गरेको भनेर धाकधक्कु लगाउने ? खाद्य सम्प्रभुताको रटान मात्रै लगाउने कि, त्यतातिर ध्यान पनि दिने ? कृषि क्रान्तिबाट अन्नबाली, फलफूल, तरकारी, दलहन, चिया, कफी, अदुवा, लसुन, प्याज, मसला, माछा, मासु आदि आपूर्तिमा हामी आत्मनिर्भर बन्नुपर्छ । तत्कालका लागि अर्बौंको आयात प्रतिस्थापन गर्ने, त्यसपछि जलशक्तिको विकास, अनि खनिजहरूको अन्वेषण र उत्खननबाट फलामदेखि पेट्रोलियम पदार्थ एवम् नुन र सुनसम्मबाट हाम्रो आर्थिक समृद्धि हासिल गर्नु छ । हामीले त्यस्ता उद्योग सञ्चालन गरौं, जसका उत्पादनले हाम्रो आवश्यकता पूरा गरून् र निर्यात गर्नुपर्दा ठूला छिमेकीसँग प्रतिस्पर्धा झेल्न सहज पनि होस् ।
अहिलेसम्म हामीले देशमा विकासका पूर्वाधारहरू खडा गर्ने काम गरेका छौं । देशका अधिकांश ठाउँमा मोटरबाटो पुगेको छ । अधिकांश गाउँमा बिजुली बलेको छ र सञ्चार सुविधा पुगेका छन् । स्कुलहरू बनेका छन् र स्वास्थ्य चौकी स्थापना भएका छन् । अब खाँचो छ त तिनको स्तर वृद्धिको । त्यसपछिको महत्त्वपूर्ण कुरा हो— गाउँ–गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नु । गाउँ–गाउँमै रोजगारी र आम्दानीका लागि कृषि क्रान्ति र पर्यटनको विस्तार नै मुख्य आधार हुन् ।
हामीले गाउँमुखी अर्थनीति र ‘गाउँमै बसूँबसूँ’ को परिस्थिति बनाउन सकेनौं भने अहिलेको महाव्याधिले गर्दा विदेशबाट ओइरिएका र सहरमा नअटाएका यतिका मानिसलाई कहाँ लगेर अड्याउने ? कसरी के रोजगारी दिने ? दिन नसके व्यवस्था मात्र हैन, राष्ट्रियतासमेत खतरामा पर्न सक्छ ।
कृषिको व्यवसायीकरणका लागि जब आधुनिक प्रविधि, यान्त्रीकरण र बजारीकरणतिर कृषिलाई उन्मुख गराउँछौं, हाम्रै गाउँघरमा पर्याप्त रोजगारी सिर्जना हुन सक्छन् । हाम्रो प्रकृतिमा रहेका जैविक विविधता र हाम्रो जलवायुको विशिष्टताले गर्दा छिमेकीले भन्दा हाम्रो माटोले दिन सक्ने कृषिउपजहरू उच्च कोटिका हुन्छन् । कफी, सुन्तला, स्याउ, अदुवा, अलैंचीजस्ता कृषिउपज र यार्सागुम्बा, पाँचऔंले, केशर लगायतका जडीबुटीको उत्पादन बढाई निर्यात गर्न सक्छौं । जडीबुटीका कच्चा पदार्थ निर्यात हैन, तिनलाई प्रशोधन गरी औषधि उत्पादन गर्ने हो, जुन उद्योगहरूको आम्दानी पनि हो । त्यस्तै झल्कने हिमाल, उर्लने नदी, उच्च र मझौला रमणीय पहाड, पर्वत र सुन्दर मधेसमा धार्मिकसहितको पर्यटन पूर्वाधारको विस्तार गर्न सकिन्छ ।
वनौषधि, कपडा र कागजको उत्पादन गर्न सक्ने रेसादार बोटबिरुवा, उच्च किसिमको सुवास छर्ने सुन्दर फूलपातीहरू हामी नै उत्पादन गर्न सक्छौं । गाउँतिर फर्क्यौं भने यस्ता अनगिन्ती सम्भावना भेटाउन सकिन्छ । सबैभन्दा विकट मानिएका र अहिलेसम्म उपेक्षामा रहेका कर्णालीका डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोटका विस्तीर्ण पाखापखेराहरूमा के–के सम्भावना छन् के–के ! त्यहाँ चौरी, भेडा, च्याङ्ग्रापालन गर्न र चिज उत्पादन गर्न सके विश्वमा त्यो हातहातै बिक्न सक्छ । २०५३ सालतिर एक दिन राजा वीरेन्द्रले मसँग भनेका थिए, ‘सभामुख, हेर्नोस्, हाम्रोमा सहजै उत्पादन हुने गाँजा खेती पश्चिमाले पाएका भए त्यसलाई अर्को रूप दिएर कति नाफा गर्थे होलान् ! तर यो प्रतिबन्धित गरिएको छ ।’ वास्तवमा गाँजा, भाङ, धतुरोलाई मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने गरी अर्को रूपमा प्रशोधन गरी प्रयोग गर्ने र तिनको लोक्ता प्रशोधन गरी कपडा बुन्ने हो भने कस्तो होला ! कति कारखाना चल्लान् ! हाम्रो जुट उद्योग नै भनौं न ! कच्चा जुट बेच्न छोडेर आफैंले प्रशोधन गर्ने हो भने कति रोजगारी र कति आम्दानी हुन्थ्यो होला ! हामीले यस्तो फाइदा लिने योजना बनाएका छौं ? केवल आवश्यकता छ, कल्पनाशील परियोजना तर्जुमा र त्यसको अक्षरशः कार्यान्वयनको । र, खाँचो छ गफको भरमा सम्मानित हुने संस्कृति हैन श्रमको सम्मान गर्ने संस्कृतिको । अनि, विचारशील राजनीतिक इच्छाशक्ति र राष्ट्रिय अठोटको ।
हिमाल, पहाड, तराई–मधेस यत्रतत्र हामीसँग थरीथरीका जमिन छन् । व्यावसायिक कृषि गर्न चाहनेलाई कृषिबाली अनुसारको जमिन राज्यले लिजमा लिएर हुन्छ वा जे गरेर भए पनि, उपलब्ध गराउने । त्यो जमिनलाई चाहिने पानी, मल, बीउ, प्रविधि, विज्ञ सहयोग र पुँजी लगानी उपलब्ध गराउने र सुरक्षा ओत दिने बिमा आदि व्यवस्था मिलाइदिने । अहिले राज्यको पुँजी र क्षमता सही ठाउँमा प्रयोग भएको छैन । सुशासन छैन । लगानीको वातावरण छैन । आफन्तपोषण मात्र भैरहेछ । यो बेथिति अन्त हुनैपर्छ ।
विकासका लागि मानव संसाधन सबैभन्दा महत्त्वपूर्ण विषय हो । गाउँमुखी अर्थनीतिले देशभरि नै गाउँ–गाउँमा दक्ष जनशक्तिको अपेक्षा राख्छ । सम्बन्धित प्राविधिक शिक्षाको विस्तार, निरन्तर तालिमको व्यवस्थाद्वारा विभिन्न क्षेत्रको सक्षम प्राविधिक जनशक्ति हाम्रो विकास र उन्नतिको मूल आधार हो ।
हाम्रा गाउँघरका किसानहरूको सदियौंदेखिको परिवार व्यवस्था विश्वमा अनुकरणीय छ । मानवता र मानिसका बीच सहयोगात्मक सम्बन्ध कमजोर भएका बेला हाम्रो परिवार व्यवस्थाले त्यतापट्टि प्रेरणा दिन्छ । हाम्रो आदर्श परिवार प्रणाली पश्चिमको हेरी विशिष्ट छ । यसले समाजलाई एकतामा बाँध्ने काम गर्छ । गाउँमा सहकारिताको भावना अझै सजीव छ । आपसी सहयोग, सद्भाव, सहिष्णुता र त्यागको भावना अझै बचेको छ । गाउँमुखी हुनु त्यसैले परेको छ । मैले गाउँमुखी अर्थनीति, जनमुखी राजनीति भनेर केवल कृषि र वन, खोला र झरना, हिमाल, पहाड मैदान मात्रै संकेत गर्न चाहेको छैन । आर्थिक पक्षलाई मानवीय संवेदनासँग जोड्ने चुनौतीलाई देखेको छु । ठूलो मान्छे हैन, असल मान्छे बन्ने संस्कारको विकासतर्फ संकेत गर्न चाहेको छु । समाजको अर्थमुखी चरित्र र व्यक्तिवादी सोचबाट जोगिएर धेरै किसिमका अपराधकर्म र विकृतिहरूबाट जोगिएर मानव सभ्यतालाई उचाइमा पुर्‍याउने उपाय खोज्न चाहेको छु ।

 

दृष्टिकोण

अक्षरमार्फत परिवर्तन

- नमिता पौडेल

 


युनेस्कोले हरेक वर्ष सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवस मान्दै आएको छ । हरेक नागरिकले शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यसहित नेपालमा पनि यो दिवस मनाइन्छ । शिक्षा मन्त्रालयको एक तथ्यांकअनुसार, ३० जिल्लाका ३ लाख नागरिक अझै साधारण लेखपढ गर्न सक्दैनन् । २०६५ सालको जनगणनाअनुसार १५ देखि ६० वर्षका ७८ लाख व्यक्ति निरक्षर थिए । त्यतिखेर कुल जनसंख्याको लगभग ६५ प्रतिशत साक्षर थिए भने, अहिले यो दर बढेर ८० प्रतिशत पुगेको दाबी गरिन्छ । ८० प्रतिशत जनसंख्या साक्षर हुँदा पनि लैंगिक असमानता, जातीय र वर्गीय विभेद अनि भ्रष्टाचार किन हट्न सकेन ? यस्तै हो भने शतप्रतिशत जनता साक्षर हुँदा पनि समाजमा केही फरक नपर्ने देखिन्छ ।
कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई टोलमा राखेको भनेर स्थानीय बासिन्दाले विरोध गरिरहँदा शिक्षित र साक्षर भनिने जनता त्यही भीडमा थिए । आज देशलाई स्वास्थ्यकर्मीको सबैभन्दा बढी खाँचो छ । स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारले पक्कै समाजमा सकारात्मक सन्देश जाँदैन । साक्षरता बढेको भने पनि समाजको व्यवहारमा परिवर्तन आएको छैन । केही महिनाअघि म पीएचडी गरेका अंकललाई भेट्न गएकी थिएँ । उहाँले मलाई लैंगिक समनतासँग जोडेर अनुसन्धान गर्ने सल्लाह पनि दिनुभयो । लगभग एक घण्टा बितेपछि अंकलले आन्टीलाई चियाका लागि भन्नुभयो । आन्टीले आँखा झिम्काउँदै ‘तपाईं नै बनाउनुस्’ भन्नुभयो ।
अंकलले आँखाको इसारा बुझेर मलाई पनि भान्छामा डाक्दै चिया पकाउन थाल्नुभयो । लैंगिक समानतालाई उहाँले व्यवहारमा पनि उतार्नुभएको रहेछ भनेर खुसी भएँ । चिया बसाल्नेबित्तिकै ‘मरीचको बट्टा कता छ हँ’ भनेर कड्किनुभयो । आन्टीले जवाफ फर्काएपछि मरीच हाल्दै अंकलले भन्नुभयो, ‘म त खासै भान्छामा छिर्दिनँ । उनी छुई भा’की छन्, त्यसैले ।’ उहाँले यति भनेपछि एक छिनअगाडिको मेरो खुसी हरायो । छुई भएको बेला झन् बढी काम गर्नुपर्ने आन्टीको बाध्यता रहेछ र उहाँ यसैमा बानी परेकाले खुसी देखिनुहुन्थ्यो ।
अर्को सन्दर्भतिर जाऊँ । सरकारी विद्यालयमा पढाउने छिमेकी दिदीसँग म बाटोमै बसेर कुराकानी गर्दै थिएँ । उनको परिवारका सबै सदस्य शिक्षित छन् । यत्तिकैमा कोठा खोज्न एक जोडी आए । दिदीले के थरी हो, कति जना बस्ने, कतिवटा कोठा खोज्नुभएको हो जस्ता प्रश्न सोध्नुभयो । सबै जवाफ सुनिसकेपछि दिदीले ‘छोराछोरी बढ्दै छन्, आफैंलाई कोठा चाहिन्छ’ भन्नुभयो । कोठा खोज्ने जोडी तल्लो जातका थिए । दिदीको जवाफमा दाइले पनि सही थाप्नुभयो । मेरी मिल्ने साथीले समाजशास्त्रमा एमए गरेकी छन् । एक दिन उनले मलाई फोनमा सोधिन्, ‘पूर्णिमाको बेलामा सहवास गर्दा छोरो हुन्छ रे हो ? तिमीले पनि त्यस्तै गरेको होइन ?’ उनको प्रश्न सुनेर मलाई हाँस उठ्यो । उनी एउटै बच्चा पाउने रे ! अनि त्यो छोरा भइदिए हुन्थ्यो भन्ने चाहना रहेछ । यी साक्षर, त्यसमाथि पनि समाजशास्त्र पढेकी साथीको विचारलाई हाम्रो सामाजिक संरचनाले नै आकार दिएको छ । उनको कुरा सुनेर म चुपचाप भएँ । केही छिनपछि उनैले भनिन्, ‘तिम्रा त छोरा र छोरी छँदै छन्, अब जे भनेर वकालत गर्दा ’नि भैहाल्यो नि ! अचानोको पीर खुकुरीलाई के थाहा !’
विद्यावारिधि गरेको र लैंगिक समानताको बहस गर्दै हिँड्नेको घरमा छुई भएकी श्रीमतीलाई शारीरिक भार पर्ने काम लगाइन्छ भने महिलाले समान व्यवहार कहिले पाउँछन् ? ज्ञान बाँड्ने शिक्षकले नै जातका आधारमा भेदभाव गर्छ भने जातीय विभेदको अन्त्य कहिले हुन्छ ? समाजशास्त्रमा एमए गरेकी नारी पनि पिण्ड दिने छोरा मात्रै जन्माउने कुरा गर्छिन् भने नारी भ्रूणहत्या कहिले रोकिन्छ ?
नेपालको संविधानले शिक्षालाई मैलिक हक मानेको छ । जसलाई साक्षर भनिन्छ, उनीहरूले हाम्रो संस्कार र समाजभित्रको मैलोलाई ज्ञानको साबुनले धुन सके परिवर्तन सम्भव हुन्थ्यो होला । लैंगिक असमानताकै आधारमा हजारौं चेलीले शारीरिक यातना खेप्नुपर्दैनथ्योहोला । जातकै आधारमा नवराज विकको ज्यान जाँदैनथ्यो होला । यस्ता कैयौं जातीय विभेदका घटना हुँदैनथे होलान् !
विश्व डिजिटल युगमा दौडिरहेका बेला हामी पनि सँगै दौडिन साक्षरताको महत्त्व छ । अब मानवले आफ्नो मात्र अधिकार सुरक्षित गरेर पुग्दैन, वातावरण संरक्षण र जीवजन्तुको अधिकार पनि ख्याल गर्नुपर्छ । यस्तोमा के हामीले पाएको ज्ञानको गुणस्तरको मापन गर्दै छौं त ? निजगढमा बन्ने विमानस्थल विकास हो कि प्रकृतिको विनाश ? यो विषय विवादित छ । यस्ता प्रश्नको जवाफ खोजिनुपर्छ । विकास गर्दा विनाश हुनु हुँदैन भन्ने कुरा हामीले पाउने शिक्षामा समावेश हुनु जरुरी छ । शिक्षामा ठूलै फड्को मारे पनि विश्वव्यापीकरणका कारण परनिर्भरता बढ्दै गएको छ । समाजको मैलो फाल्न नसक्ने हो भने साक्षर हुनुमा गर्व गरेर हुन्न । हरेक नागरिकले शिक्षा पाउनुपर्छ र शिक्षाको सदुपयोग गर्ने अवसर पनि । अक्षर चिन्नुलाई गर्व गर्नेभन्दा पनि अक्षर चिनेर भएको परिवर्तनमाथि गर्व गर्ने वातावरण बनाउनुपर्छ अनि मात्र हामी साक्षर नागरिक भन्नुको अर्थ रहन्छ ।

 

Page 8
विदेश

ब्रेक्जिट वार्ताबाट अलग हुने जोन्सनको चेतावनी

कामका लागि बेलायत आउने नेपालीले राम्रो अवसर पाउने जानकारहरुको भनाइ
- नवीन पोखरेल
बेलायतको संसद्मा सोधिएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री बोरिस जोन्सन । तस्बिर : एपी

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि दुवै पक्षबीच व्यापार सम्झौताको सम्भावना न्यून हुँदै गएको छ । बेलायत र युरोपेली संघ (ईयू) का प्रमुख वार्ताकारहरूले समेत ब्रेक्जिटपछिको सम्झौता सजिलो नभएको औंल्याउँदै आएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूसँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन् । उनको प्रतिक्रियासँगै बेलायत आफ्नो अडानमा कायमै रहेको प्रस्ट भएको छ । ब्रेक्जिटबारे ईयूसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने जोन्सनको भनाइ छ ।
प्रधानमन्त्री जोन्सनले युरोपेली वार्ताकारहरूले आफ्नो अडानमाथि पुनर्विचार नगर्ने हो भने बेलायत वार्तामा बसिरहनुको कुनै अर्थ नरहने समेत बताएका छन् । जोन्सनले वार्ता सहज नभए बिनासम्झौता ईयूबाट सम्पूर्ण रूपले अलग हुने बारम्बार बताउँदै आएका छन् । बहुमत बेलायती व्यवसायीले बोरिस नीतिको आलोचना गरे पनि यसले ईयूलाई थप लचिलो हुन बाध्य पारेको जानकारहरूको विश्लेषण छ ।
त्यसैगरी, बेलायतका प्रमुख ब्रेक्जिट वार्ताकार डेभिड फ्रस्टले बेलायत सरकार बिनाकुनै व्यापार सम्झौता सन् २०२१ मा युरोपेली संघ छाड्न नडराउने टिप्पणी गरेपछि दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहेको स्पष्ट भएको छ ।
तर ईयूले भने वार्ताका लागि बेलायत गम्भीर नभएको आरोप लगाएको छ । फ्रस्टको टिप्पणीपछि युरोपेली संघका वार्ताकार मिसेल बार्नियरले भने बेलायतले वार्तामा कुनै पनि छुट नदिँदा आफू निराश र चिन्तित भएको बताएका छन् । ईयूले अक्टोबरभित्रै बेलायतसँग एउटा सम्झौता गर्न चाहेको छ । ब्रेक्जिटको संक्रमणकालीन समयसीमा डिसेम्बर ३१ मा सकिँदै छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व नै अस्तव्यस्त भएका कारण ब्रेक्जिटपछिको सम्झौता छायामा रहेजस्तो देखिए पनि दुवै पक्षबीच वार्ता चलिरहेको छ ।
बेलायती सञ्चारमाध्यमका अनुसार आठौं चरणको औपचारिक वार्ता आजदेखि सुरु हुँदै छ । संक्रमणकालीन समयसीमा समाप्त हुँदासम्म पनि बेलायत र ईयूबीच व्यापार सम्झौता असफल भयो भने दुवै पक्षले विश्व व्यापार संगठनको सर्तमा व्यापार गर्नेछन् । जसअन्तर्गत नयाँ सीमा नियन्त्रण र करका कारण दुवै पक्षको अतिरिक्त लागत बढ्नेछ ।
फ्रस्टले भने ईयूको अडानले सम्झौता गर्न असहज भइरहेको आरोप लगाएका छन् । सम्झौता अझै सम्भव रहे पनि यो हासिल गर्न सजिलो नभएको फ्रस्टको भनाइ छ । ईयूले सहायता र मत्स्यपालन नीतिसँगको निरन्तरता स्विकार्नुपर्नेमा जोड दिइरहेको छ । तर बेलायतले भने माछा मार्ने जलक्षेत्रसम्बन्धमा बेलायती सार्वभौमिकतामा सम्झौता गर्ने कुनै पनि प्रस्ताव स्वीकार नगर्ने अडान लिएको छ ।
ईयूभित्र जर्मनीपछि बेलायतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । त्यसकारण पनि रोजगार, उत्पादन, व्यापार, सुरक्षालगायत अन्य विषयमा यी दुवैका लागि निकट सम्बन्ध अत्यावश्यक छ ।
ब्रेक्जिटपछि बेलायतको अध्यागमन नियम परिवर्तन गरी दक्ष र सीप भएका मानिसलाई मात्र बेलायतमा काम गर्न अवसर दिइने बेलायती नीति घोषणा भइसकेको छ । अंकमा आधारित (प्वाइन्ट बेस्ड) इमिग्रेसन सिस्टमले नेपालका दक्ष जनशक्तिलाई बेलायतमा काम गर्न आउन थप सहज हुने जानकारहरूको भनाइ छ ।
बेलायतले ब्रेक्जिटपछि विभिन्न देशसँग व्यापार सम्झौता गर्ने हुँदा नेपाल सरकारले पनि यस अवसरमा बेलायतसँग राम्रो व्यापारिक सम्बन्ध बनाई नेपाली उत्पादन बेलायती बजारमा प्रवर्द्धन गर्ने ठूलो मौका मिल्नेछ ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजाल ब्रेक्जिटपछि सुरुका वर्ष बेलायतलाई केही अप्ठेरो भए पनि नेपाल र नेपालीलाई भने फाइदा पुग्ने धारणा राख्छन् । ‘ब्रेक्जिटपछि नेपालबाट विद्यार्थी र दक्ष जनशक्तिलाई यूके प्रवेश सहज हुने आशा गर्न सकिन्छ र व्यापारी पनि यसबाट लाभान्वित हुन सक्छन्,’ रिजालले भने ।
नेपालमा भएका व्यवसायीले बेलायतसँग सिधा सम्झौता गरी चिया, कफी, ह्यान्डी क्राफ्टजस्ता व्यवसाय गर्न सक्ने रिजाल बताउँछन् । दुई शताब्दीभन्दा लामो सम्बन्धका कारण पनि बेलायतले नेपाललाई हेर्ने दृष्टिकोण फरक र लचक हुने विश्वास डा. रिजालको छ ।
बेलायतको युनिभर्सिटी अफ नर्थह्याम्पटनमा अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिका उपप्राध्यापक डा. बुद्धि पाठक बेलायत र ईयू बिनासम्झौता बाहिरिए कोभिड–१९ महामारीको अनिश्चितताबीच अप्रत्याशित सामाजिक तथा आर्थिक प्रभाव पर्ने औंल्याउँछन् ।
डा. पाठक पोस्ट ब्रेक्जिटमा कुनै जाति वा वर्गलाई तुरुन्त फाइदा हुने देख्दैनन् । तर नेपालीहरू सेक्युरिटी, सरसफाइ, हस्पिटालिटीजस्ता क्षेत्रमा काम गर्ने भएकाले पूर्वी युरोपेली श्रमिकहरूसँग भने कम प्रतिस्पर्धा हुने उनको विश्वास छ ।

विदेश

चिनियाँ सेनाले भारतीयलाई कब्जामा लिएको आरोप

भारतीय सेनाले पठायो चिनियाँ सेनालाई सन्देश
- कान्तिपुर संवाददाता

नयाँदिल्ली (एजेन्सी)– भारत र चीनबीच तनाव बढिरहेका बेला चिनियाँ सेनाले ५ जना भारतीय नागरिकलाई कब्जामा लिएको भन्दै भारतीय सेनाले एक सन्देश पठाएको छ ।
भारतीय सेनाका अनुसार उनीहरूलाई सीमावर्ती भारतीय राज्यबाट नियन्त्रणमा लिइएको हो । दुई दिनअघि अरुणाचल प्रदेशका एक सांसदले ट्वीट गर्दै ५ जना भारतीयलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको आरोप लगाएका थिए । सांसद तापिर गाओले ट्वीट गर्दै सेप्टेम्बर ३ मा सीमाक्षेत्रनजिकै ५ जना नागरिकलाई चिनियाँ सेनाले कब्जामा लिएको आरोप लगाएका हुन् । यद्यपि, उनले त्यसबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई ‘हटलाइन सन्देश’ पठाइएको बताएका छन् । अल्पसंख्यक कार्य राज्यमन्त्री किरेन रिजिजुले सीमा तनाव अन्त्यका लागि सन्देश पठाइएको जनाए । एक पत्रकारको प्रश्नको जवाफमा रिजिजुले भारतीय सेनाले उक्त घटनाबारे चिनियाँ पक्षको जवाफ पर्खिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले भने घटनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर यो घटनाले दुई देशबीच तनाव थप बढ्न सक्ने ठानिएको छ ।
चीनले सीमा क्षेत्रमा सैन्य तनावका लागि उक्साउने काम गरिरहेको आरोप भारतले लगाएको छ । भारतले अगस्ट पहिलो सातामा दुईपटक यस्तो आरोप लगाएको थियो । तर चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
गत जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा भारत र चीनका सैनिकबीच हिंसात्मक झडप भएयता दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो । झडपमा २० भारतीय सैनिक मारिएका थिए । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको थिएन । उक्त घटनापछि दुवै पक्षबीच एलएसीको पूर्वसहमतिलाई उल्लंघन गरेको आरोप–प्रत्यारोप चल्दै आएको छ ।
सीमाक्षेत्रमा जारी तनाव अन्त्यको पहलका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई दिनअघि रुसको राजधानी मस्कोमा चिनियाँ समकक्षीलाई भेटेका थिए ।
त्यसले चाँडै तनाव कम गराउन संवाद अघि बढ्ने अपेक्षा गरिएको भए पनि दुई देशबीचको वाक्युद्ध जारी छ । चीनले सीमा क्षेत्रको तनावका लागि भारत ‘पूर्णरूपमा’ जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ भने भारतले ‘आफ्नो एक इन्च भूभाग पनि नछाड्ने’ बताएको छ । त्यसका साथै चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकहरू परिचालन गरेको र उनीहरूले आक्रामक व्यवहार देखाएको भारतीय आरोप छ । दुवै देशले बारम्बार एकअर्कालाई हिमालय क्षेत्रको लद्दाखमा सीमा पार गरेर हिंसा भड्काउन खोजेको आरोप लगाउने गर्छन् । विश्लेषकहरूले जुनदेखि सीमा क्षेत्रमा संवेदनशील अवस्था रहेको बताउने गरेका छन् ।
दुई देशबीच विभिन्न चरणमा सैन्य र कूटनीतिक वार्ताहरू भए पनि परमाणु समस्या समाधान भने हुन सकेको छैन । भारत र चीनबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा जोडिएको छ । त्योमध्ये करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच दशकौंदेखि विवाद रहँदै आएको छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । सीमा विवादलाई नै लिएर सन् १९६२ मा भएको युद्धमा भारतले नराम्रो पराजय भोगेको थियो ।

विदेश

बेलारुसको विपक्षी दलकी नेतृ नियन्त्रणमा

- कान्तिपुर संवाददाता

मिन्स्क (एएफपी)– बेलारुसको विपक्षी दलकी नेतृ मारिया कोलेस्निकोभालाई एक अपरिचित समूहले नियन्त्रणमा लिएको छ ।
मारियालाई मास्क लगाएका मानिसको एक समूहले राजधानी मिन्स्कबाट एउटा मिनी बसमा राखेर अन्यत्र लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मारिया गत अगस्टमा भएको राष्ट्रपतीय चुनावमा पराजित सेभ्लाना तिखानोभ्स्कायाको अभियानमा निकै सक्रिय थिइन् । अलेक्जेन्डर लुकासेन्को विजयी भएको चुनावमा धाँधली भएको आरोपपछि बेलारुसमा विरोध प्रदर्शन चर्केको छ । चार साता लामो प्रदर्शनका क्रममा कम्तीमा ४ जनाले ज्यान गुमाएका छन् । ६ सय ३३ जना प्रदर्शनकारी पक्राउ परेका बेलारुसको आन्तरिक मन्त्रालयले जनाएको छ । युरोपेली संघका अधिकांश नेताहरूले चुनावी परिणामलाई मान्यता नदिने बताएका छन् । उनीहरूले बेलारुसमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन् । तर रुस, चीन, काजखस्तान, उज्बेकिस्तान, माल्दोभा र अजरबैजानले लुकासेन्कोलाई समर्थन जनाएको बीबीसीले उल्लेख गरेको छ । यसअघि जर्मनीले चुनावी नतिजाप्रति ‘गम्भीर आशंका’ रहेको जनाएको थियो भने पोल्यान्डले विवादास्पद राष्ट्रपतीय चुनावबारे छलफल गर्न युरोपेली युनियनको आपत्कालीन बैठक डाक्न आग्रह गरेको थियो ।
लुकासेन्को ८०.२३ प्रतिशत मतसहित राष्ट्रपति पदमा विजयी भएको बताइएको थियो । ६५ वर्षीय लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । छैटौंपटक बेलारुसको राष्ट्रपति पदमा विजयी भएका लुकासेन्कोले तिखानोभ्स्काया विदेशीको इसारामा चुनावी मैदानमा आएकी आरोप लगाएका थिए ।

विदेश

१६९ दिनपछि चल्यो दिल्लीको मेट्रो

- कान्तिपुर संवाददाता
भारतको राजधानी नयाँदिल्लीमा सोमबारदेखि पुनः सञ्चालन गरिएको मेट्रो रेलका यात्रु । तस्बिर : एजेन्सी

नयाँदिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँदिल्लीको मेट्रो रेलसेवा पुनः सञ्चालनमा आएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको रेलसेवा सोमबारदेखि खुलेको हो । दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले सरकारी निर्देशिकाबमोजिम सोमबार बिहान ७ बजेदेखि ४९ किलोमिटर लामो रेलसेवा सञ्चालन ल्याइएको जनाएको छ ।
लामो समयपछि सञ्चालनमा आएको भए पनि सोमबार रेलमा यात्रुहरूको संख्या निकै न्यून रहेको थियो । ‘लाइनमा बस्न नपरोस् भनेर म छिट्टै आइपुगेको थिएँ । स्नेसनमा मानिसको खासै भीड थिएन र यात्रुहरूले निर्देशनहरूको पालना गरेका थिए,’ एक यात्रु कुमुद प्रियाले भने ।
यात्रुहरूले रेलसेवा सञ्चालनमा आएकोमा आफूहरूलाई खुसी लागेको बताएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा ल्याएको भए पनि सेप्टेम्बर १२ देखि मेट्रोले पूर्णरूपमा सेवा दिने डीएमआरसीले जनाएको छ । डीएमआरसी प्रमुख मन्गु सिंहले प्रभावकारी र सुरक्षित सेवाका लागि यात्रुहरूको सहयोग अत्यावश्यक भएको बताएका छन् । भारको केन्द्र सरकारले जारी गरेकोको निर्देशिकाअनुसार दिल्ली राज्यमा व्यावसायिक गतिविधि सञ्चालन हुन थालिसकेका छन् । जसका कारण सार्वजनिक यातायातको समस्या हुन थालेपछि केही दिनअघि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मेट्रो रेलसेवा सञ्चालनका लागि केन्द्र सरकारसँग अनुमित मागेका थिए । केजरीवालले ट्वीट गर्दै रेलसेवा सञ्चालनमा आएकोमा खुसी लागेको बताएका छन् । ‘मेट्रो सेवा सञ्चालनमा आएकोमा मलाई खुसी लागेको छ । व्यवस्थापन निकै राम्रो गरिएको छ । हामीले नियमहरू पालना गर्न कुनै हेलचेक्र्याइँ गर्नुहुन्न,’ केजरीवालले लेखेका छन् ।
पछिल्लो समय भारतको दिल्ली राज्यमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएपछि जनजीवन सहज बन्दै गएको छ । तर कतिपय राज्यहरूमा पछिल्ला दिनमा संक्रमण निकै तीव्र बन्दै गएपछि भारत भाइरस प्रभावित देशहरूको सूचीमा दोस्रो स्थानमा उक्लेको छ ।
भारतमा कोभिड–१९ संक्रमितको संख्या ४२ लाख नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार साँझसम्म भारतमा ४२ लाख ४ हजार ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । भाइरस संक्रमणका कारण ७१ हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

Page 9
अर्थ वाणिज्य

ठूला सडक आयोजनामा चर्चा मात्र बढी, काम सुस्त

ठूलो लगानीमा सुरू भएका सडक आयोजनाको प्रगति सन्तोषजनक छैन, प्रायः आयोजना तोकिएको समयमा सकिएका छैनन्
- विमल खतिवडा
काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत भट्टेडाँडा खण्ड । तस्बिर : किरण पाण्डे/कान्तिपुर

०६५/६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । १२ वर्षमा बल्ल उक्त प्रगति हासिल गरेको यो आयोजना निर्माण यही गतिमा काम हुने हो भने अझै त्यति नै समय लाग्न बेर छैन । जब कि यो आयोजनामा संघीय सरकारकै सबैजसो अधिकारीदेखि सरोकारवाला निकायको अत्यधिक चासो, अनुगमन, निगरानी र प्राथमिकतासाथ बजेट विनियोजन हुने गरेको छ । तर पनि आयोजनाको प्रगति लक्ष्यअनुसार छैन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहे पनि अन्य ठूला सडक आयोजनाको उदाहरण यस्तै छ । निर्माणले गति लिनुको सट्टा झमेलामा परेका छन् ।
हुलाकी राजमार्ग आयोजना सुरुमा भारत र नेपाल सरकारबाट संयुक्त रूपमा सञ्चालित थियो । भारतबाट निर्माण व्यवसायी र परामर्शदाता आएर काम भयो । तर भारतीय निर्माण व्यवसायीले बीचमै काम छाडेपछि यसको स्वरूप परिवर्तन गरियो । नयाँ तरिकाबाट अघि बढ्दा भारतले ५ अर्ब भारतीय रुपैयाँ (नेपाली ८ अर्ब रुपैयाँ) हुलाकी राजमार्गलाई नियमित गर्ने भनिएको थियो ।
भारतीय सहयोगमा निर्माणाधीन १० वटा सडकको १४ वटा ठेक्का गरिएको आयोजनाका प्रमुख रोहित बिसुरालले जानकारी दिए । ८ वटा ठेक्काको काम सकिएको छ । निर्माण सकिएका सडक हस्तान्तरण गर्न बाँकी छ । हुलाकी राजमार्गअन्तर्गत ९ सय ७५ किमि मुख्य राजमार्ग पर्छ । सहायक सडकको दूरी ८ सय १७ किमि छ । सबै गरेर १ हजार ७ सय ९२ किमि रहेको यो राजमार्ग निर्माण सक्ने मिति ०७९/८० सम्म मात्र छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या लाभान्वित हुनेछन् । प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रहेकामा संशोधित लागत ६५ अर्ब २० करोड छ ।
अर्को आशा जगाउने सडक हो, काठमाडौं–तराई मधेस द्रुतमार्ग । यो सडक सञ्चालनमा आए एकडेढ घण्टामै काठमाडौंबाट बारा पुगिनेछ । तर निर्माणमा आधा पनि प्रगति नभएकाले अझै केही वर्ष यो मार्ग हुँदै यात्रा गर्न पर्खनुपर्नेछ । यो द्रुतमार्ग निर्माण सक्ने लक्ष्य हो, आर्थिक वर्ष ०८०/८१ । तर अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ ।
मुख्य सुरुङ र पुल निर्माणको काम सुरु भएको छैन । जसले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुन कठिन छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट निर्माण थालिएको द्रुतमार्गको दूरी ७२ दशमलव ५ किमि छ । १ खर्ब ७५ अर्ब लागत रहेको यो द्रुतमार्गमा अझै पहाड कटिङ र माटो फिलिङको काम सकिएको छैन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्नमै ढिला भयो । समय धेरै भएकाले तोकिएकै समयमा काम सक्ने गरी निर्माण भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन् । परामर्शदाताले भनेअनुसार काम गर्न सके तोकिएकै समयमा आयोजना सक्न समस्या छैन । तोकिएकै समयमा काम सक्नेमा आफू विश्वस्त रहेको उनको दाबी छ । पहाड कटिङ र माटो फिलिङको काम ४ किलोमिटर बाँकी छ । १ दशमलव ५ किमि ०७७ माघ र थप २ दशमलव ५ किमि ०७८ को जेठसम्म सक्ने योजना रहेको उनले सुनाए । द्रुतमार्गमा कुल सडकमध्ये १० दशमलव ५९६ किमि पुल रहनेछ । केही समयअघि ललितपुर खोकनाका स्थानीयले जग्गाको मुअब्जा नपाएपछि उक्त मार्गमा पर्ने खेत खनजोत गर्दा विवाद भएको थियो । विवाद अझै सुल्झिएको छैन ।
आयोजना निर्माणको काम सञ्चालन गर्न सेनाले विभिन्न १० ठाउँमा क्याम्प राखेको छ । ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम जारी छ । आयोजनाका अनुसार महादेवडाँडामा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमिको सुरुङ निर्माण हुनेछ ।
चर्चामै रहेको सडक हो, मदन भण्डारी लोकमार्ग । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण थालिएको लोकमार्गअन्तर्गत अहिले धरान–चतरा–सिन्धुली–हैटौंडा खण्डको काम मात्र अघि बढेको छ । अन्य खण्डमा कतै सर्भे नै भएको छैन, कतै निर्माण सुरु भएको छैन । झापाको बाहुनडाँगीबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल जोड्ने यो सडकको कुल दूरी १ हजार २ सय ५० किमि छ । यो मार्गबाट तराईका जिल्ला नछोई काठमाडौं जान सकिने मदन भण्डारी लोकमार्ग निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले जानकारी दिए ।
पश्चिम खण्डमा सर्भेको काम सुरु गर्न बाँकी छ । धरान–चतरा–हेटौंडा खण्डमा सबैभन्दा पहिला टेन्डर भएको हो । यो खण्डमा कालोपत्रको काम चालु आर्थिक वर्षमा सकिने उनको दाबी छ । धरान–झापा खण्डमा पुलको ठेक्का भएको छ । चालु आवमै सडकको पनि ठेक्का लाग्ने उनको भनाइ छ । पश्चिमतर्फ बोटेचौर सुर्खेत र अन्य केही खण्डको ठेक्का गर्ने प्रयास भइरहेको उनले बतए । ‘१ हजार २ सय ५० मध्ये ७ सय ७० किमि जति हामी हेर्छौं,’ उनले भने, ‘त्यसबाहेक अन्य खण्ड सडक विभागकै आयोजनाले हेरिरहेका छन् ।’
धरान–चतरा–हेटौंडा खण्डको दूरी २ सय ५० किमि छ । यस खण्डमा ७६ वटा पुल पर्छन् । यो खण्डको काम अहिलेसम्म ८५ प्रतिशत सकिएको छ । चालु आर्थिक वर्षमा उक्त खण्डको सबै काम सकिने उनको दाबी छ । ०८२/८३ मा सडक सम्पन्न गर्ने लक्ष्य लिइए पनि अहिलेसम्म प्रायः खण्डमा ठेक्का भएको छैन । आयोजनाको अनुमानित बजेट ८० अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए ।
आर्थिक वर्ष ०६४/६५ बाट निर्माण सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको अहिलेसम्मको भौतिक प्रगति ४८ दशमलव ९४ प्रतिशत छ । ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको लोकमार्गको काम आधा पनि सकिएको छैन । पाँचथरको चियोभन्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटमा पुगेर टुंगिने सडकले पूर्वदेखि पश्चिमसम्मका २५ जिल्ला जोड्नेछ । १ हजार ८ सय ७९ किमि रहने सडकले २ सय १५ वटा बस्ती जोड्ने गरी निर्माण जारी छ । ०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएको भए पनि समय संशोधन गरिएको हो । आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड हो । संशोधित लागत भने ८४ अर्ब ३३ करोड छ । लकडाउनका बेला राम्रोसँग काम गर्न नपाएको आयोजना प्रमुख दीपक केसी बताउँछन् ।
यता कोसी (उत्तर–दक्षिण) लोकमार्गको काम ०६६/६७ बाट काम सुरु भयो । संखुवासभाको खाँदबारीबाट उत्तरी सिमाना किमाथांकासम्म १ सय ६२ किमि सडक निर्माण एवं स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ । आयोजनाको कुल लागत १६ अर्ब २० करोड छ । सुरुमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा ट्र्याक मात्र खोल्ने भनेर आयोजना सुरु गरिएको आयोजना प्रमुख गौतम श्रेष्ठले बताए । ‘त्यति बेला आयोजना ४/५ अर्बको मात्र थियो,’ उनले भने, ‘अहिले कालोपत्र गर्ने काम थपिएकाले लागत बढेको हो ।’
अहिलेसम्म १ सय ४८ किमि ट्र्याक खुलिसकेको छ । त्यस्तै पुल निर्माणको काम जारी छ । आव ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य भए पनि अहिलेसम्म समग्र प्रगति २० प्रतिशत मात्र छ । ‘आयोजना थाल्दा सुरुको लक्ष्य कालोपत्र गर्ने भन्ने थिएन, ट्र्याक ओपन गर्ने मात्र थियो,’ श्रेष्ठले भने, ‘अहिले कालोपत्र पनि गर्ने भनिएको छ, त्यसैले कति समय लाग्छ थाहा छैन ।’ ट्र्याक खोल्ने काम मात्र हुँदा ५५ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । कालोपत्रको योजना थपिएपछि भने प्रगति घटेको हो । अहिलेसम्म आयोजनाको समग्र खर्च ३ अर्बभन्दा बढी भएको श्रेष्ठले जानकारी दिए । कालीगण्डकी करिडोर (उत्तर–दक्षिण) लोकमार्गको दुई खण्डमा काम भइरहेको छ ।
नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासम्म ४ सय ३५ किमि रहेको लोकमार्गअन्तर्गत मालढुंगा–राम्दी–गैंडाकोट खण्डको कुल २ सय ४५ किमि सडक निर्माणको काम भइरहेको छ । यो खण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार अहिलेसम्म भौतिक प्रगति ३० प्रतिशत छ । ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य भए पनि तोकिएकै समयमा काम नसकिने उनी बताउँछन् । सडक निर्माणको काम ०६७ /६८ मा सुरु भएको हो । कुल अनुमानित बजेट २८ अर्ब ८० करोड रहेको आयोजनाको बेनी–जोसोम–कोरला खण्ड १ सय ८६ किमिको हो । यो खण्डमा सबै ट्र्याक खोलिसकिएको छ । कोरोना संक्रमण फैलिँदो रहेकाले काम राम्रोसँग हुन नसकेको बेनी–जोमसोम सडक आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवले बताए । जोमसोमदेखि कोरला र बेनीदेखि जोमसोम दुई खण्ड छ । जोमसोमदेखि कोरलासम्म ८० प्रतिशत काम भएको छ । यो खण्डमा ग्राभेल सडक निर्माण गर्नुपर्नेछ । यसको दूरी १ सय १० किमि छ । बेनीदेखि जोमसोम ७६ किमि छ । यो खण्डमा ४५ प्रतिशत काम भएको छ । ०७३ फागुनबाट यी खण्डको काम सुरु भएको हो । ०८०/८१ मा सक्ने लक्ष्य लिइएको आयोजनाको बजेट साढे ६ अर्ब रुपैयाँ छ ।
कर्णाली करिडोर (उत्तर–दक्षिण) लोकमार्गअन्तर्गत खुलालु–सिमिकोट (हुम्ला) खण्डमा करिब १ सय ९६ किमि र हिल्सा सिमिकोट खण्डमा (हुम्ला) ८८ किमि सडक निर्माण गर्ने लक्ष्य छ । ०६५/६६ बाट सुरु भएको आयोजना ०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर सम्पन्न गर्ने समय संशोधन गरिएको छ । ०७९/८० मा सम्पन्न हुने गरी म्याद थपिए पनि अहिलेसम्म भौतिक प्रगति १ सय ४५ किमि खण्डको ७८ प्रतिशत छ । आयोजनाको कुल लागत ८ अर्ब १० करोड रुपैयाँ छ । ०७२/७३ मा सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकको अहिलेसम्म भौतिक प्रगति २९ प्रतिशत मात्र छ । चीनसँगको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई बढाउन र व्यापार सहजीकरण गर्ने उद्देश्यले यो सडकखण्ड निर्माण अघि बढाइएको हो । ८२ किमि दूरीको यो सडक ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य छ । १५ अर्ब ५० करोड अनुमानित बजेट रहेको यो सडकमा अहिले पुलको जग हाल्ने, पहाड कटिङ, गल्छीबाट रसुवागढीसम्मै पहिरो सफा गर्ने काम भइरहेको आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
०१४ सालमा कान्ति लोकपथको ट्र्याक खोल्न थालिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ट्याक खुलेपछि पनि यो सडक खासै प्रयोगमा आएन । अहिले ७९ किमि दूरीको यो सडक निर्माण सुरु भएको छ । तोकिएकै समयमा निर्माण सम्पन्न हुने शर्माले बताए । सडक निर्माणको अवधि ०७८ भदौसम्म रहेको र हालसम्मको भौतिक प्रगति ८२ प्रतिशत रहेको कान्ति लोकपथ सडक योजना प्रमुख ज्ञानेन्द्रकुमार झाले जानकारी दिए ।
‘ललितपुर खण्डमा ४ सय मिटर पहाड कटिङको काम बाँकी छ,’ उनले भने, ‘बर्खाको समयमा निर्माण भइसकेको सडक जहाँजहाँ बिग्रिएको छ, ठेक्का लिएकै निर्माण व्यवसायीले बनाइदिनेछन् ।’ भट्टेडाँडादेखि छपेलीसम्म पहाड कटिङको काम बाँकी छ । सडक योजना ०६४/६५ मा सुरु भएको हो । ललितपुर खण्डमा २८ किमिमध्य १६ किमि कालोपत्र भएको छ । १२ किमि कालोपत्र गर्न बाँकी छ । मकवानपुर खण्डमा ५१ मध्ये १० किमि कालोपत्र गर्न बाँकी छ ।
०७५ पुसमा नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का सम्झौता भएको हो । यो खण्डको भौतिक प्रगति २ प्रतिशत मात्र छ । १ सय १५ किमि सडकको पूर्वी खण्ड ६५ र पश्चिम ५० किमि छ । ०८० साउनभित्र सडक विस्तार गरिसक्नुपर्नेछ । दाउन्ने–बुटवल खण्ड विस्तार गर्न ७ अर्ब ८६ करोड ३४ लाख र गैंडाकोटदेखि दाउन्नेसम्मको सडक विस्तार लागत ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ छ । कोरोना संक्रमणका कारण अहिले काम प्रभावित बनेको आयोजनाको पूर्वी क्षेत्रका प्रमुख सुजन अधिकारीले बताए । साढे ३ वर्षमा सक्ने लक्ष्य रहेको आयोजनाको लागत अनुमान १७ अर्ब रुपैयाँ छ ।

अर्थ वाणिज्य

ब्यान्डविथको समस्या समाधान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टिकटकले नेपालमै आफ्नो क्यास सर्भर राखेपछि एक महिनादेखि सिर्जित ब्यान्डविथको समस्या समाधान भएको छ । टिकटकले आफ्नो प्रोटोकल परिवर्तन गरेसँगै टिकटक प्रयोग गर्दा हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत १० गुणा बढेको थियो । नेपाल भित्रिने कुल ब्यान्डविथमध्ये २५ प्रतिशत टिकटकमा मात्रै खपत हुन थालेपछि पिक आवरमा यसको गुणस्तर घटाउन थालिएको थियो ।
नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स) ले सञ्चालन गरिरहेको स्थानीय सर्भरको क्षमता अभिवृद्धि गरी ब्यान्डविथ समस्या समाधान भएको सञ्चालक समिति सदस्य समित जन थिङले जानकारी दिए ।
टिकटकले ७० जीबीपीएस क्षमताको सर्भरको परीक्षण गरिरहेको छ । अहिले टिकटकको ट्राफिक माग धान्न अकुमाईको कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) प्रयोग भइरहेको उनले बताए । अकुमाईको सीडीएनको क्षमता एक सय जीबीपीएसबाट २ सय ४० जीबीपीएस पुर्‍याइएको उनले जानकारी दिए । 

एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटकले क्यास सर्भर राख्न अकुमाईको सीडीएन प्रयोग गरिरहेको छ । तर नेपालमा रहेको अकुमाईको सीडीएम लकडाउनअघिदेखि नै पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले यसलाई प्रयोग गर्न नसकिने अवस्थामा थियो । टिकटकले २८ जुलाईदेखि आफ्नो प्रोटोकल एटीटीपीबाट एचटीटीपीएस बनाएपछि सेवा प्रदायक थप समस्यामा परेको नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) अध्यक्ष भोजराज भट्टले बताए । एचटीटीपीएस प्रोटोकल कम्प्युटर नेटवर्कमा हुने सञ्चारलाई सुरक्षित पार्न प्रयोग गरिन्छ । एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटक प्रयोग गर्दा स्वतः अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग भएपछि ब्यान्डविथ खपत बढेको हो । ‘एचटीटीपीएस प्रोटोकलमा गएपछि क्यास सर्भर राख्न सम्भव हुन्न,’ उनले भने, ‘यसले गर्दा नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमा चाप गर्न गएको हो ।’
इन्टरनेटमा भएको कन्टेन्ट स्थानीय रूपमा भण्डारण गर्ने सर्भरलाई क्यास सर्भर भनिन्छ । ब्यान्डविथको चाप घटाउन र इन्टरनेटको गति बढाउन क्यास सर्भरलाई प्रयोग गरिन्छ । छोटो भिडियो सेयरिङ गर्ने चिनियाँ एप केही महिनायता चर्चामा छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारतले यो एपलाई प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले पनि आफ्नो देशमा हुने कारोबार अमेरिकी कम्पनीलाई बिक्री नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । केही सातायता समयमा टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको थियो । यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ । जेठ १ सम्म टिकटकले औसत १३ जीबीपीएस मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने सेवा प्रदायकहरूको तथ्यांक छ । कोभिड–१९ का कारण लकडाउन गर्नुअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्थ्यो भने लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको थियो ।
त्यसअघि ५ सय जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्रिने गरेकोमा कोभिड–१९ का कारण गरिएको लकडाउनको समयमा इन्टरनेट ब्यान्डविथको माग अत्यधिक भएपछि सेवा प्रदायकहरूले बढी ब्यान्डविथ भित्र्याउन थालेका हुन् । भारत र अमेरिकाले प्रतिबन्ध लगाएसँगै संसारभर टिकटकबारे चर्चा भएपछि प्रयोगकर्ताले उत्सुकता मेटाउन पनि यसलाई प्रयोग गर्न थालेको हुन सक्ने सेवा प्रदायकहरूको विश्लेषण छ । टिकटकले खपत गर्ने ब्यान्डविथ गुगल र फेसबुक प्रयोगका लागि नेपालभित्र खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथभन्दा बढी हो ।

अर्थ वाणिज्य

पाँच वर्षमा चार गुणा बढ्यो ब्यान्डविथ खपत

- विजय तिमल्सिना

पछिल्लो ५ वर्षमा प्रतिपरिवार खपत हुने इन्टरनेट ब्यान्डविथ करिब ४ गुणा बढेको छ । नेपालमा औसत परिवारले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ ७ सय ५० केबीपीएस पुगेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) को तथ्यांक छ । नेपालमा आयात हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ र इन्टरनेटका घरायसी ग्राहकको अनुमातमा यो तथ्यांक निकालिएको हो ।
ब्यान्डविथ खपतसँगै एउटै घरमा इन्टरनेट प्रयोगका लागि उपयोग हुने डिभाइसको संख्या पनि बढेको छ । पाँच वर्षअघि एउटा घरमा इन्टरनेट प्रयोगका लागि औसत २ वटा डिभाइस प्रयोग हुने गरेकोमा हाल प्रयोग हुने डिभाइसको संख्या औसतमा ५ पुगेको आईस्पानको तथ्यांक छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार हाल ४० वटा इन्टरनेट सेवा प्रदायकका ११ लाख २९ हजार ग्राहक छन् । पछिल्लो जनगणनाअनुसार नेपालमा एक परिवारमा औसत ४.८ जना सदस्य रहने भएकाले एक घरमा जोडिएको इन्टरनेट करिब ५ जनाले प्रयोग गर्छन् ।
०७३ सालतिर घरायसी ग्राहकका लागि दिइने इन्टरनेट प्याकेजमा औसत खपत २ सय केबीपीएस हाराहारीमा भए पनि ०७७ मा आउँदा यसको खपत बढेर ७५० केबीपीएस पुगेको आईस्पान अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘पछिल्ला वर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेको छ, कोभिड–१९ को महामारीपछि गरिएको लकडाउनमा विश्वभर जस्तै नेपालमा पनि ब्यान्डविथ खपत चुलियो,’ उनले भने ।
ब्यान्डविथ खपत बढेसँगै हरेक स्पिडको मात्रा पनि बढेको आईस्पानको तथ्यांक छ । अहिले एक ग्राहकले लिने औसत इन्टरनेटको स्पिड पनि ४० एमबीपीएस पुगेको छ । पाँच वर्षअघि यस्तो औसत स्पिड २० एमबीपीएस थियो । अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढे पनि यसको प्रयोग भने मुख्यतया तीनवटा सेवाका लागि प्रयोग भइरहेको आईस्पानको तथ्यांक छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमध्ये २४ प्रतिशत गुगलको सेवा, फेसबुकका लागि १४ प्रतिशत र टिकटकका लागि २१ प्रतिशत खपत भइरहेको छ । फेसबुक र गुगल दुवैले आआफ्नो कन्टेन्टका लागि नेपालमा स्थानीय (क्यास) सर्भर पनि राखेका छन् । टिकटकको भने तत्कालका लागि नेपालमा क्यास सर्भर छैन । त्यसैले टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ पछिल्लो समय कैयौं गुणा बढेको छ ।
नेपालमा करिब ४ सय १८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत यति भए पनि आन्तरिक ब्यान्डविथको खपत लकडाउनपछि १५ सय जीबीपीएसभन्दा बढी पुगेको आईस्पानको तथ्यांक छ । आन्तरिक ब्यान्डविथतर्फ सबैभन्दा बढी खपत गर्नेमा फेसबुक र गुगल अगाडि छन् ।
अहिले विश्वभर नै इन्टरनेटमा भिडियो कन्टेन्ट बढी हेरिने भएकाले ब्यान्डविथ खपत बढ्दै गएको भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउँछन् । ‘पहिले इन्टरनेटमा अक्षर र तस्बिर बढी प्रयोग हुन्थ्यो । अहिले प्रायः कन्टेन्ट भिडियोमा छन्,’ उनले भने, ‘त्यसमा पनि गुणस्तरीय भिडियो बढी हेर्न थालिएको छ ।’

Page 10
अर्थ वाणिज्य

सीडीएससीको केवाईसी निर्देशिका पारित भएन

- यज्ञ बञ्जाडे

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) लाई केन्द्रीकृत ग्राहक पहिचान (केवाईसी) प्रणाली सञ्चालन अनुमति दिनुअघि त्यसको अवधारणा स्पष्ट हुनुपर्ने निर्णय गरेको छ । सेबोनले सञ्चालक समिति बैठकमा सोमबार केवाईसी सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका पारित गर्ने प्रस्ताव लगेको थियो । तर बैठकले वित्तीय जानकारी इकाइ (एफआईयू), अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गर्ने निर्णय गरेको छ ।
मुलुकको १५औं योजनामा केन्द्रीकृत केवाईसीबारे उल्लेख छ । सोअनुसार काम अघि बढाउन अर्थ मन्त्रालयले एक समिति गठन गरेको छ । राष्ट्र बैंकले पनि केन्द्रीकृत केवाईसीका लागि चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेकाले ती निकायसँग समन्वय गर्न बैठकले धितोपत्र बोर्डलाई आग्रह गरेको हो । ‘सीडीएससीले केवाईसी सञ्चालन गर्ने भनिए पनि त्यसको अवधारणा कस्तो हुने भन्ने छैन,’ स्रोतले भन्यो, ‘अनुमति दिनुअघि स्पष्ट अवधारणा ल्याउन भनिएको छ ।’ केवाईसी दुरुपयोग भए के–कस्तो कारबाही हुने भन्नेबारे पनि स्पष्ट व्यवस्था आउनुपर्ने बैठकको निष्कर्ष छ ।
केवाईसी प्रणाली सञ्चालनका लागि सीडीएससीले सार्वजनिक, निजी साझेदारी (पीपीपी) मा प्राविधिक साझेदार नियुक्त गर्न सक्ने भन्ने मस्यौदाको व्यवस्था भने सञ्चालकहरूले विरोध गरेका छन् । निर्देशिकामा उक्त व्यवस्था राख्न नहुने भन्दै सञ्चालकहरूले त्यसलाई हटाउन बोर्डलाई आग्रह गरेको बताइएको छ ।
‘सीडीएससीले ग्राहकको पहिचान विवरण केन्द्रीकृत रूपमा राख्न केन्द्रीकृत केवाईसी प्रणाली सार्वजनिक, निजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गरी लागू गर्नेछ,’ केवाईसीसम्बन्धी निर्देशिकाको मस्यौदाको परिच्छेद ३ मा भनिएको छ । सञ्चालकहरूले यही व्यवस्थाको विरोध गरेका हुन् । निर्देशिकाको उक्त व्यवस्था सीडीएससीको आफ्नै नियमावलीविपरीत हो । ‘धितोपत्र केन्द्रीय सेवा नियमावली–२०६८’ मा कतै पनि सीडीएससीले केन्द्रीकृत केवाईसी प्रणाली सञ्चालन गर्ने उल्लेख छैन । यसरी नियमावलीमै व्यवस्था नभएको काम गर्नु कानुनविपरीत भएको कानुनविद्हरू बताउँछन् । केही व्यक्ति तथा कम्पनीको प्रभावमा परेर नियमावली र सार्वजनिक खरिद ऐनविपरीत निजी कम्पनी भित्र्याउन लागिएको स्रोतले बताएको छ । सीडीएससीले केवाईसी प्रणाली सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव
आफ्नो कार्यकालमा आए पनि कानुनविपरीत रहेको भन्दै त्यसलाई अनुमति नदिएको सेबोनका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले बताए । ‘केवाईसी भन्ने विषय संवेदनशील हो,’ उनले भने, ‘नियमविपरीत रहेकै कारण त्यति बेला रोकिएको हो ।’ केवाईसीकै नाममा पीपीपी मोडलमा निजी कम्पनीलाई भित्र्याउन खोजिएको विषय पनि सही नभएको उनको तर्क छ । ‘लगानीकर्ताको व्यक्तिगत सूचनाको जिम्मा निजी कम्पनीलाई दिनु राम्रो होइन,’ उनले भने, ‘यसकारण सुरक्षाको विषयलाई पनि ध्यान दिनुपर्छ ।’
सरकारले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको, राष्ट्र बैंकले पनि केन्द्रीकृत केवाईसीसम्बन्धी काम गर्न लागेको अवस्थामा सीडीएससीले कानुनविपरीत छुट्टै केवाईसी प्रणाली सञ्चालन गर्नु उचित नभएको उनको भनाइ छ । तर सेबोनका प्रवक्ता नीरज गिरीले भने निर्देशिकाउपर छलफल चलिरहेकाले केही निर्णय भइनसकेको प्रतिक्रिया दिए । ‘थप छलफलपछि निर्णय होला, अझै केही भएको छैन,’ उनले भने, ‘निर्देशिका पारित भइनसकेकाले मैले अहिले केही भन्न सक्दिनँ ।’

अर्थ वाणिज्य

‘निषेधाज्ञामा पुनर्विचार गर’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले निषेधाज्ञाबारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । नाडाले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायको कडाइसाथ पालना गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउन आग्रह गरिएको छ । ‘अब जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रबल हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विकट स्थिति आउनुअघि नै सरकारले जारी निषेधाज्ञाबारे पुनर्विचार गर्न हामी सरकारसँग हार्दिक अपिल गर्दछौं ।’ लकडाउनले देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको नाडाको भनाइ छ । 

अर्थ वाणिज्य

सामसङले ल्यायो ग्यालेक्सी ‘नोट २०’ र ‘नोट २० अल्ट्रा’

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सामसङले ग्लालेक्सी ‘नोट २०’ र ‘नोट २० अल्ट्रा’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यी स्मार्टफोनले काम गर्न र गेम खेल्न थप सहज हुने कम्पनीले बताएको छ । ग्यालेक्सी नोट २० को मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ रहेको सामसङ नेपालले जनाएको छ ।

अर्थ वाणिज्य

भोकै परेकालाई बिरयानीको सहयोग

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बिरयानी लिंगेन ब्रान्डले प्रत्येक २० केजी बोरा बिक्रीबापत आउने ५० रुपैयाँ कोभिड–१९ महामारीको समयमा भोकै बस्नुपरेकालाई सहयोग गर्ने घोषणा गरेको छ । महामारीका कारण करिब ६ महिनादेखि बेरोजगार भएर भोकै बसेका व्यक्तिहरूका लागि समाज सेवा गर्ने उद्देश्यले उक्त सहयोग गर्न लागिएको कम्पनीले जनाएको छ । बिरयानीले काठमाडौं उपत्यका, पोखरा र विराटनगरबाट प्याकिङ खाना दिएर सेवा सुरु गर्ने जनाएको छ ।

अर्थ वाणिज्य

महिला लघुवित्तको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । संस्थाको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड रुपैयाँ आईपीओमा नेपाल एसबीआई नियुक्त भएको हो । महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने र नेपाल एसबीआईका प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Page 11
कला र शैली

कलाकृति बनायो, थन्क्यायो

कोरोना संक्रमणले लकडाउन र निषेधाज्ञाले घरैमा थुनिएका चित्रकारहरु अवस्था सहज हुने दिन पर्खिरहेका छन् । भन्छन्– ‘छोएर हेरेर परख गरिने कलाकृति भर्चुअल माध्यमबाट देखाउन–बेच्न जानिएन’
- सुशीला तामाङ

चित्रकार भीम शर्माले विश्व पानी दिवसका अवसरमा ‘सेकेन्ड इन्टरनेसनल नेचर आर्ट फेस्टिभल’ शीर्षकमा झन्डै एक महिना अवधिको चित्रकला महोत्सवको योजना बनाएका थिए । हाल गैंडाकोटमा चित्र सिर्जना गर्दै आएका शर्माको उक्त महोत्सव चैत महिनाको दोस्रो हप्तापछि नै सुरु हुने योजना बने पनि लकडाउनले रोकियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चित्रकारहरू सहभागी हुने उक्त फेस्टिभलका लागि ३८ लाख रुपैयाँको हाराहारीमा लगानी अनुमान गरिएको थियो ।
फेस्टिभल नै रोकिएपछि सुर्खेत तथा काठमाडौंमा गरिने कला प्रदर्शनी तथा टीकापुर र बर्दियामा सुरु गर्ने योजना रहेको एक हप्ते चित्रकला कार्यशालासमेत अब कहिले हुने भन्ने अन्योल रहेको शर्माले सुनाए ।
कोरोना महाव्याधिले बितेका पाँच महिनायता अधिकांश चित्रकारहरूमा यस्तै अन्योल छ । बेला–बेलामा विभिन्न कलाकृतिहरूले सजिने ग्यालरीहरूको ढोका बन्द नै छन् । तथापि बन्दाबन्दीमा भौतिक दूरीलाई कायम गर्दै चित्रकारहरूले घरमै क्यानभासमा रङ पोतिरहेका छन् । कतिपयले वरपर उपलब्ध माटो, काठजस्ता वस्तुहरूमा कला सिर्जना गर्दै छन् । प्रत्यक्ष प्रदर्शनीको विकल्पका रूपमा सिर्जना भएका चित्रकारहरूको कलाकृतिलाई कला पारखीसम्म पुर्‍याउन चित्रकारहरूले भर्चुअल माध्यमलाई समेत आधार बनाउँदै अनलाइन प्रदर्शनीसमेत गरिरहेकै छन् । यद्यपि सिर्जना भएका कलाकृतिहरूको बिक्री भने ठप्प नै छ । कलाकृति बजारसम्म जाने वातावरण नभएपछि त्यसै थुप्रिएका छन् । यही स्थिति बढ्दै गएमा बनेका कलाकृति कता व्यवस्थापन गर्ने, चित्रकलालाई निरन्तरता कसरी दिने, रङ तथा क्यानभासजस्ता चाहिने सामग्रीको जोहो नै कसरी गर्ने भन्ने कुरामा चित्रकारहरूमा चिन्ता छ ।
अहिलेको अवस्थामा चित्रकला क्षेत्रलाई अगाडि बढाउन कठिन रहेको शर्मा बताउँछन् । बजार ठप्प रहेकाले सिर्जना मात्र गरेर थेग्ने अवस्था नरहेको उनको भनाइ छ । लकडाउनयता मात्र शर्माले अहिलेको समय, आम मानिसको भोगाइ, जीविकोपार्जनजस्ता पक्षलाई समेटेर ‘कोभिड–१९’ र ‘कर्म’ जस्ता सिरिजका लागि चित्रहरू बनाएका छन् । ग्यालरीहरू खोलेलगत्तै प्रदर्शनी गर्ने उनको योजना छ ।
ग्यालरीकै विकल्पका रूपमा अहिले अनलाइन प्रदर्शनीहरू भइरहेका छन् । ‘म्युजियम अफ नेपाली आर्ट (मोना)’, अन्तर्राष्ट्रिय जल रङ समाज नेपाल र क्लासिक आर्ट ग्यालरीलगायतले निरन्तर रूपमा भर्चुअल माध्यममा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका चित्रकारहरूलाई समेटेर प्रदर्शनी गरिरहेका छन् । कलाकृति बिक्रीमा ठप्प भएको यो कठिन परिस्थितिमा यसले चित्रकारहरूलाई केही मात्रामा राहतसँगै कला प्रचारमा सहायता पुगे पनि बिक्रीमा खासै प्रभाव नपारेको चित्रकारहरूको दाबी छ ।
लामो समयदेखि मिथिला कला सिर्जनामा लागिपरेका लक्ष्मण मण्डल र सरिता मण्डल लकडाउनयता जम्मा भएका ५ सयको हारहारीमा रहेका कलाकृतिहरू हेरेर नै चित्त बुझाइरहेका छन् । मण्डल दम्पतीका अनुसार उक्त कलाकृतिलाई बिक्री मूल्यमा हेर्ने हो भने १० लाख रुपैयाँभन्दा माथि पर्न आउँछ । थिमि र ठमेलमा ‘मिथिला नारी हस्तकला सेन्टर’ नै सञ्चालन गरेर बसेका मण्डलले स्टुडियोको मासिक भाडा मात्र ६० हजार हाराहारी छ । बजार ठप्प भएसँगै अन्य चित्र सिर्जना गर्नै चित्रकारहरूलाई पनि उनले बोलाउन सकेका छैनन् । अहिले उनलाई स्टुडियोमा तिर्नुपर्ने भाडाको चिन्ता त छँदै छ, बजार खुलेपछि सामान्य अवस्थामा कसरी फर्कने भन्ने चिन्ता छ । अझ पनि उनी भोलिको आशा राख्दै सिर्जना गरी नै राखेका छन् ।
‘छोएर वा प्रत्यक्ष हेरेर मात्र चित्र बिक्री हुने हाम्रो बजारमा अनलाइन प्रदर्शनीको बानी परेको छैन,’ शर्मा भन्छन्, ‘यसले सिर्जना भएका कलालाई भने प्रचार र सास भरिदिने काम भने पक्कै गरेको छ ।’ चित्रकला सिर्जनामा नै रहेकी चित्रकार अरुणा हिङमाङ पनि शर्माकै विचारमा सहमत छिन् । विश्वमा धेरै समय अघिदेखि नै अभ्यासमा रहे पनि नेपालमा भर्चुअल माध्यमको प्रयोग भर्खरै भएकाले बजार विस्तार अहिले नै गर्न नसकिने उनको मत छ । भारतमा हुने एकल प्रदर्शनीका लागि सबै व्यवस्थापन गरिसकेकी उनी अब सामान्य अवस्थाको पर्खाइमा छिन् ।
कला क्षेत्रलाई मुख्य आधार बनाएर अघि बढेका कैयौं चित्रकारहरूलाई अहिले बजार बन्द हुँदा मानसिक दबाब उत्तिकै छ । लकडाउनयता घरपरिवारसँगै समय बिताउँदै चित्र बनाउँदै आएकी चित्रकार प्रमिला परियारले अचेल त्यति सिर्जनामा ध्यान दिन सकेकी छैनन् । उनी जस्तै अर्का चित्रकार प्रमिला वज्राचार्यको दिनचर्या पनि उस्तै छ । महिला फिगरलाई केन्द्रमा राखेर चित्र सिर्जना गर्ने वज्रचार्यले लकडाउन, स्वास्थ्य, डाक्टर, नर्स र मानवीय संवेदनाका पक्षलाई चित्रमा उतार्दै छिन् । बाहिरी वातावरणको प्रभाव मनमा परेपछि सिर्जनामा उस्तै छाप पर्ने उनको अनुभवले बताउँछ । त्यस्तै खुर्सानीलाई प्रकृति र मानव जीवनलाई बिम्ब बनाएर चित्रमा चित्रण गर्ने सरिता डंगोलले अहिलेकै अवस्थालाई चित्रमा उतारेकी छन् । बोत्तलभित्र कोचिएर पनि बाहिर आउन खोज्ने खुर्सानीका चित्र, वरपर बाह्य भागमा डोरीले बाँधिएको प्रतीकात्मक बिम्बमा अहिलेको मानिस र प्रकृतिको चित्रण आएको डंगोलले खुलाइन् । मानसिक प्रभाव सिर्जनामा आउने कुरा खुलाउँदै उनी भन्छिन्, ‘चित्रमा अरू नै पक्ष खुलाउँछु भन्दा पनि अहिलेको अवस्था आउने कुरा थाहा नै नहुने रहेछ । चित्र पूरा हुँदा आफूले भोगेको र देखेको कुरा देख्दा मात्र वातावरणको प्रभावको फिल हुँदो रहेछ ।’ सिर्जना गरेर मात्र अब के गर्ने विकल्प के त ?
ग्यालरीहरू खोलेर प्रत्यक्ष प्रदर्शनी गर्ने समय अब निश्चित छैन । ग्यालरीमा भर पर्नुभन्दा अब प्रविधितिरै जोड दिएर कलाको बजार प्रवर्द्धन गर्नुपर्ने चित्रकारहरू बताउँछन् । अनलाइनतिरै जोड दिएर कलालाई त्यतै विस्तार गर्ने हो भने बजार पाउने डंगोलले सोचेकी छन् । उनकै आफ्नै आर्ट ग्यालरी भए पनि अहिले विशेष गरी भर्चुअल माध्यमलाई प्राथमिकता दिएकी छन् । कलाकृति बिक्रीका लागि परम्परागतभन्दा केही भिन्न गर्न सकेमा बजार विस्तार गर्न सकिने उनको धारणा छ ।
कलाको सही मूल्यांकन भौतिक रूपमा नै भए पनि अहिलेको विकल्प प्रविधिलाई नै लिनुपर्ने चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको भनाइ छ । सबै क्षेत्र ठप्प भएको अहिलेको परिस्थितिलाई सबैले स्वीकार गर्दै सिर्जनालाई निरन्तरता दिन उनको सुझाव छ ।

कला र शैली

शताब्दीअघिको ‘सेल्फी घर’

- सन्जु पौडेल

बाहिरबाट हेर्दा महल । चारैतिर सालका काठका झ्याल । टिनको छानो । काठैकाठको बार । भित्र पसेपछि काठकै भर्‍याङ । माटोको भुइँ । कोठामा काठैको सिलिङ । काठैको बार्दलीबाट परपरसम्म गाउँ हेर्न सकिने । परेवाको घुरघुर । वरिपरि आधुनिक शैलीका घर छन् । बीचमा रहेको यो परम्परागत घर आकर्षक देखिन्छ ।
बुटवल–भैरहवा ६ लेन सडकअन्तर्गत मणिग्राम चोकदेखि ४ किलोमिटर पूर्व–दक्षिण रूपन्देहीको तिलोत्तमा–११ महुवारीमा दुईतले घर छ । वि.सं. १९७२ मा निर्माण भएको घरमा अहिले कोही बस्दैनन् । अहिले यो सेल्फी घर बनेको छ । गेटबाहिर उभिएर घरको तस्बिर मोबाइलमा कैद गर्नेको लर्को लाग्छ । घर पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने उस्तै आउने गरेको घरधनी ७६ वर्षीया कृष्णमाया उदयले बताइन् ।
‘कोहीकोही भित्रै आएर पनि फोटो लिनुहुन्छ,’ उनले भनिन्, ‘काठमाडौं र पाल्पाका घरजस्तै रहेछ भन्छन् ।’ बिहे भएर आएपछि आफ्नो परिवार लामो समय यही घरमा बसेको कृष्णमायाले सुनाइन् । ‘पहिलो पटक घर देख्दा कस्तो रहेछ जस्तो लागेको थियो,’ उनले भनिन्, ‘पछि थाहा भयो, यो त पुर्ख्यौली डिजाइनको घर रहेछ ।’ पौराणिक घरका बारेमा थाहा पाएपछि तिलोत्तमा–६ का विनोद आचार्यले पनि घरमा पुगेर सेल्फी खिचेको बताए । ‘पुराना संरचना रुचाउने भएकाले सो घर भएको ठाउँ खोज्दै पुगें,’ उनले भने, ‘एक सय वर्ष कटिसकेको घर रहेछ, अविस्मरणीय याद तस्बिरमा कैद भयो ।’ घर देख्दा अचम्म लागेको र आफ्ना परिवारका अन्य सदस्यलाई समेत त्यहाँ लगेर घर देखाउने सोच बनाएको उनले सुनाए ।
कृष्णमायाका अनुसार त्यसबेला आसपास थारू बस्ती र खरका छाना भएका घर मात्र देखिन्थे । उनी भने जमिन्दारको घरमा बिहे भएर आएकाले ठूलो घरमा परेको अनुभूति गर्थिन् । श्रीमान्का दाजुभाइले घरबारे बताउँदा ध्यान दिएर सुन्ने गरेको उनले बताइन् । ‘भूतबंगलाजस्तो छ भनेर सबै डराउँथे,’ उनले भनिन्, ‘मेरा ससुरा स्व. चन्द्रमान उदय माथिल्लो तलाको अघिल्लो झ्यालबाट बाहिर चिहाएर बस्ने र काम गर्ने मानिसलाई अह्राउने गर्नुहुन्थ्यो रे ।’ कृष्णमायाले सासू, ससुरा दुवैलाई देख्न पाइनन् । उनका श्रीमान् ताराप्रसादको २५ वर्षअघि मृत्यु भइसकेको छ । त्यसपछि यही घरमा छोराछोरी हुर्काएको उनले बताइन् । दैनिक लिपपोतले घरको सौन्दर्यमा रौनक थप्थ्यो । साढे दुई कट्ठामा रहेको घरमा तीन वर्षदेखि कोही बस्दैनन् । एकातर्फ ऐतिहासिक घर छ, नजिकै कृष्णमायाका माइला छोरा अशोकले बनाएको नयाँ घर छ । कृष्णमाया र माइला छोराको परिवार नयाँ घरमा बस्छन् । पुरानो घरलाई अब सम्पदाका रूपमा संरक्षण गर्ने र पुराना दिन सम्झने माध्यम बनाएको अशोकले बताए । ‘आमाले नै घर कहिले बनेको भन्ने कुरा थाहा पाउनुभएन,’ उनले भने, ‘अहिले यही घरमा पाँच पुस्ता बसिसक्यो ।’ अशोकका अनुसार उनका पिता ताराप्रसादले बनाएको उक्त घरमा काठमाडौंबाट पाल्पा र अन्य जिल्ला जाने र पाल्पातिरबाट त्रिवेणी, काठमाडौं जानेहरू बास बस्न आउँथे ।
परिवारका अनुसार घर निर्माण गर्दा काठमाडौंबाट कालिगढ ल्याइएको थियो । घरमा प्रयोग भएका इँटा भारतीय मजदुर बोलाएर गाउँमै पोलेर बनाएको अग्रजबाट सुनेको कृष्णमायाले सुनाइन् । परिवारका अघिल्ला पुस्ताले बताएअनुसार इँटा जोडेर प्लास्टर गर्न धानको भुस, मास, भेली, चुना, मेथीलाई ढिकीमा कुटी ८ दिनसम्म गलाएर राखेपछि भित्तामा पोतेर ढलान गरिन्थ्यो । त्यसलाई चुना र सुर्कीको मिश्रण भनिने गरेको उनले बेलीबिस्तार लगाइन् । यसले जोडिएको इँटा सयौं वर्षसम्म टिक्ने भनाइ रहेको छ । अहिलेसम्म घरमा त्यस्तो ठूलो क्षति नभएको अशोकले बताए । ‘पुराना ठूला घरमा चारैतिर ढोका राख्ने चलन रहेछ,’ उनले भने, ‘डाँका लाग्ने भएकाले भाग्न सजिलो होस् भनी ढोका राखिएको रे ।’ आफूले जान्ने भएपछि ढोका हटाएर झ्याल बनाएको भन्दै उनले अहिले घरमा १० वटा झ्याल रहेको बताए । कहींकतै चर्किएको ठाउँ देखे टाल्न खोज्दा सिमेन्ट नै नअडिने र पुरानो मसला (सिमेन्ट बज्र) बनाउने कालिगढ नभेटिएकाले मर्मतसम्भार गर्न नपाएको उनको भनाइ छ । आमा कृष्णमायाले घरको संरक्षण गरेर राख्नुपर्छ भनिरहेकाले अशोकका छोराले समेत यो घर मानिसले आएर हेर्ने सम्पदाकै रूपमा राख्ने बताए । वि.सं. १९९० को भूकम्पमा घरको बाहिरी भागमा केही क्षति भएको भए पनि भित्री संरचना र सौन्दर्य उस्तै छ ।
स्थानीय अगुवाले पहिले जंगल रहेको स्थानमा काठमाडौंबाट ताराप्रसादका बुबा आई घर बनाएर बसेको र आफूकहाँ काम गर्न अन्यत्रबाट आउने मानिसलाई आफ्नो जग्गाबाट केही जमिन दिँदै बस्ती विकास गरी समुदायमा परिणत गरेको सुनाए । त्यो बेलाको सबैभन्दा सुन्दर घर अहिले पनि बनावटका हिसाबले उस्तै रहे पनि अझ मर्मतसम्भार गरी संरक्षण गरेर राख्न सके पुस्तौंपुस्ताले इतिहासको एउटा पाटो देख्न र बुझ्न पाउने उनीहरूको सुझाव छ । ६ वर्षको उमेरदेखि उक्त घरका बारेमा जानकारी रहेको स्थानीय ६० वर्षीय होमनाथ अर्यालले बताए । ‘त्यसबेला मालिक (जमिन्दार) बस्ने घरका रूपमा चिनिन्थ्यो,’ उनले भने, ‘ताराप्रसाद पनि ठूलो जमिन्दार हुनुहुन्थ्यो र उहाँको घर महलसरह लाग्थ्यो ।’ कामदार राखेर काम गराउने, घरको अगाडि ठूलठूला नरिवलका बोट, बार्दलीबाट हेरेर बस्ने गरेको देखेको र आफू उक्त घरमा गइरहने उनले स्मरण गरे । यस्तो कलात्मक घर नभत्काउन स्थानीयले समेत सुझाएको र अहिले घर आकर्षणको केन्द्र बनेको उनले बताए । घरधनीले यसको संरक्षण गरिरहेको र यसलाई अझ लामो समय जोगाउन स्थानीय तहले समेत चासो दिनुपर्ने उनले बताए ।

कला र शैली

टोरिनो ल्याबमा ‘होरी’

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विश्वको प्रतिष्ठित फिल्म डेभलपमेन्ट ल्याब टोरिनोमा नेपालबाट अरुणदेव जोशीको फिल्म ‘होरी’ को स्क्रीप्ट छनोटमा परेको छ । टोरिनो फिल्म ल्याबले अनलाइनबाट गरेको कार्यक्रममा ‘होरी’ छनोटमा परेको हो । जोशीको निर्देशन र पटकथामा बन्न लागेको ‘होरी’ माओवादी द्वन्द्वको समयको कथामा आधारित छ । डोटेली भाषामा बनाइने फिल्मको सुदूरपश्चिमको दार्चुलामा छायांकन गरिने जोशीले बताए । सरोज शर्मा सापकोटा निर्माता रहेको फिल्मको नाम पनि डोटेली भाषाबाटै लिइएको हो । होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ । ‘होरी’ को स्क्रीप्ट यसअघि पनि युरोपियन फिल्म डेभलपमेन्ट ल्याब ‘लिमु’ मा सहभागी भइसकेको छ । सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरबाट १२ फिल्मका विषय छनोटमा परेका छन्, जसमध्ये दक्षिण एसियाबाट भारतको एक फिल्म र नेपालको ‘होरी’ परेको हो ।

कला र शैली

सञ्जय दत्त काममा फिर्दै

शैली संक्षेप
- कान्तिपुर संवाददाता

मुम्बई (एजेन्सी)– फोक्सोको क्यान्सर भएर अस्पतालमा उपचाररत अभिनेता सञ्जय दत्त फिल्म छायांकनमा निस्कने भएका छन् । पहिलो केमोथेरापी लिएका उनी रणवीर कपुरका साथ फिल्म ‘शमशेरा’ का लागि निस्कने तयारी गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । ६१ वर्षीय दत्तको उपचार मुम्बईको मोकिलाबेन अस्पतालमा डा. जलिल पारकरको रेखदेखमा भइरहेको छ । दत्तले डा. पारकरसँग काम गर्न
जान अनुमति मागेपछि खबर सञ्चारमाध्यमहरूमा आएका हुन् ।

Page 12
खेलकुद

‘खेल मिलेमतो मुलुकको हितविपरीत, तर राज्यविप्लव होइन’

खेल मिलेमतो (म्याचफिक्सिङ) मुलुकको हितविपरीतको काम हो । यो राष्ट्रिय लज्जाको विषय हो । तर राज्यविप्लवमा आकर्षित हुने कानुन तानतुन पारेर प्रस्तुत म्याचफिक्सिङको विषयमा प्रयोग गर्न मिल्दैन ।
- कृष्ण ज्ञवाली

सर्वोच्च अदालतले खेलकुदमा हुने म्याचफिक्सिङलाई ‘राज्यविप्लव’ भनी अर्थ लगाउन नसकिने भनी व्याख्या गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरू म्याचफिक्सिङमा संलग्न भन्दै प्रहरीले दायर गरेको ‘राज्यविप्लव’ को मुद्दामाथि व्याख्या गर्दै सर्वोच्च अदालतले ‘उनीहरूले एकथरी कसुर गरेको देखिए पनि’ पुष्टि नहुने अर्को आरोप लगाइएकाले कसुर कायम हुन नसक्ने फैसला गरेको हो ।
‘अभियोगपत्रमा खेलाडीहरूमाथि अनुशासनात्मक कारबाही हुनुपर्ने मागदाबी छैन । राज्यविप्लवको आरोपमा जन्मकैदको मागदाबी छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जुन कानुनको आधारमा मुद्दा दायर गरिएको छ, सो कानुन आकर्षित नहुनेमा अरू प्रश्नमा प्रवेश गर्नुपरेन भनी विशेष अदालतले गरेको फैसला मिलेको देखिन्छ ।’
राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा तथा खेलाडी सन्दीप राई, अञ्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री तथा फिजियो डेजिव थापामाथि राज्यविरुद्धको अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी मुद्दा दायर भएको थियो । विशेष अदालतले उनीहरू सबैलाई सफाइ दिएको थियो । सागरसहितको टोलीलाई विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले त्यसपछि आजीवन प्रतिबन्ध लगाएका थिए । नेपालको कानुनले उनीहरूलाई निर्दोष साबित गरे पनि फिफा र एएफसीको आजीवन प्रतिबन्ध कायमै छ ।
‘जुन दफा प्रयोग हुनुपर्ने दाबी गरिएको छ, सो राज्यविप्लवसँग सम्बन्धित दफा हो । त्यसले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने हुन्छ,’ सर्वोच्च अदालतले सोमबार सार्वजनिक गरेको पूर्णपाठ फैसलामा भनिएको छ, ‘राज्यविप्लवमा आकर्षित हुने कानुन तानतुन पारेर प्रस्तुत म्याचफिक्सिङको विषयमा प्रयोग गर्न मिल्दैन । म्याचफिक्सिङलाई राज्यविप्लवको काम होइन, यसबाट राज्यविप्लव हुँदैन ।’ उनीहरूमाथिको आरोप २०६६ सालदेखि २०६९ सालसम्मको हो । त्यतिबेला मुलुक अपराधसंहिता जारी भएको थिएन । अब भने त्यस्तो गतिविधि भए मुलुकी अपराध संहिता ऐनको दफा ५१ मा परिभाषित ‘राष्ट्रहित प्रतिकूलको कार्य’ भनी अभियोग लगाउन मिल्छ । तर अब बनेको कानुनले जारी हुँदाको मितिभन्दा अगाडि हुने त्यस्ता अपराधमाथि कारबाही गर्न मिल्दैन ।
सर्वोच्च अदालतले राष्ट्रलाई प्रतिनिधित्व गरेर विदेशमा खेल्न जाने व्यक्तिहरूले राष्ट्रको भावनात्मक प्रतिनिधित्व गरेका अवस्थामा रकम लेनदेन, त्यसको ट्रान्सफर भएको र बुझेको प्रमाणसमेत जुटाइएकाले त्यस्ता गतिविधिलाई आपत्तिजनक मानेको छ । फैसलामा भनिएको छ, ‘जसरी केही खेलाडीले रकम बुझेको कुरा अदालतमा समेत गरेका छन् । सो राष्ट्रिय लज्जाको विषय हो ।’ त्यतिबेला महानगरीय अपराध महाशाखाले विशेष अदालतमा मुद्दा चलाएको थियो । स्रोत नखुलेको र गैरकानुनी आर्जनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा छानबिन गरी मुद्दा दायर गर्न सकिने अवस्था भए पनि तत्कालीन महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले मुद्दा प्रहरीको ग्रिपबाट बाहिर जाने भएकाले फाइल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ट्रान्सफर गरेनन् ।  
झूटो कानुनी आधारमा मुद्दा दायर गरेको आरोपमा म्याचफिक्सिङ आरोप लागेका ६ खेलाडीलाई विशेष अदालतले सफाइ दिएको थियो । त्यो फैसलालाई सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते सदर गरेको थियो । एन्फाका खेलाडी, प्रशिक्षक लगायतमाथिको आरोप पुष्टि हुन नसक्ने ठहरसहित विशेष अदालतको फैसला सदर भएको थियो ।
विशेष अदालतले उनीहरूमाथि राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ अनुसार राज्यविप्लवको कसुर गरेको नदेखिएको भन्दै सफाइ दिएको थियो । अञ्जन, रितेश, सागर, सन्दीप, विकास र डेजिवले सफाइ पाएका हुन् । राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर तथा खेलाडीहरू सन्दीप, अञ्जन, रितेश र विकास तथा फिजियो डेजिवमाथि राज्यविरुद्धको अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी मुद्दा दायर भएको थियो । आरोप ठहर भएको भए १० वर्षदेखि जन्मकैदको सजाय हुन्थ्यो । विशेष अदालतमा अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य प्रमोदकुमार वैद्य श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले आरोपितमाथिको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेको थियो ।
उनीहरूविरुद्ध सन् २००८ देखि खेलिएका २२ अन्तर्राष्ट्रिय फुटबल खेलमा म्याचफिक्सिङ गरेर पैसा लिएको सुराकी दाबीसहित महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो । ‘हरेक खेलमा नेपाललाई शून्यले हराउन उनीहरू सहमत भएको देखिएको छ र तदनुसार नेपालले हारेको पनि देखिन्छ,’ आरोपपत्रमा भनिएको थियो, ‘एक खेलमा हारेबापत प्रतिखेलाडी ५ हजार अमेरिकी डलरसम्म लिने गरेको बैंक स्टेटमेन्टले देखाएको छ ।’
म्याचफिक्सिङका सम्बन्धमा देशमा कानुन नभए पनि खेलाडीको कसुर अक्षम्य भएकाले राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले तयार पारेको थियो । देशको झन्डा बोकेर तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने खेलाडीले आफ्नो स्वार्थपूर्ति गर्न विदेशी संगठित म्याचफिक्सरसँग मिल्नु राज्यविरुद्धको अपराध हुने दाबी आरोपपत्रमा थियो ।
हरेक खेलमा नेपालले हार्दै गएपछि र उनीहरूका गतिविधि शंकास्पद देखिएपछि एसियाली फुटबल महासंघले जाँचबुझ सुरु गरेको थियो । त्यसमा दोषी देखिएपछि महासंघले नेपाल प्रहरीलाई आवश्यक कागजातसहित पत्र पठाएपछि उनीहरूविरुद्ध अनुसन्धान सुरु भएको हो । सिंगापुरका कुख्यात म्याच फिक्सर टिटानी पेरिआसमी र केसभान पट्टानलगायतसँग मिलेर पैसा लिने गरेको र त्यसबापत उनीहरूले भने जति गोल खाइदिने गरेको भेटिएको प्रहरी अनुसन्धानको दाबी थियो । टिटानी र केसभानविरुद्ध माल्दोभा प्रहरीले म्याच फिक्सिङको अभियोगमा मुद्दासमेत चलाइसकेको थियो ।
सन् २००८ मा भएको मर्डेका कप, २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसिया र फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, २०१२ मा भारतमा भएको नेहरू कप, २०१४ मा दक्षिण कोरियामा एसियाली खेलकुदमा भएको खेललगायतमा म्याचफिक्सिङ गरेको अभियोगपत्रमा उल्लेख थियो । खेल सुरु हुनुअघि नै नतिजा तय गरेर त्यसअनुसारकै परिणाम निकाल्ने काम म्याचफिक्सिङ हो । यस्तोमा अक्सर खेलमा बाजी लगाउनेहरूसमेत संलग्न हुने गर्छन् । उनीहरूलाई म्याचफिक्सर भनिन्छ । यस्ता म्याच फिक्सरहरूले फलानो खेलमा फलानो देश यति अंकले हार्छ भनेर लाखौं रुपैयाँको बाजी राख्ने गर्छन् । तदनुसार खेलिदिनका लागि खेलाडीलाई पैसा तिर्ने गर्छन् ।
फिक्सिङका मामिलामा पूर्व खेलाडी अञ्जन बढी संलग्न हुने गरेको पनि आरोपपत्रमा उल्लेख थियो । उनी खेलाडी वा पदाधिकारीको रूपमा संलग्न नै नभएको फिलिपिन्स र दिल्लीको प्रतियोगितामा समेत गएका थिए । उनको आमा शोभा केसीको नाममा समेत वेस्टर्न युनियन मनी ट्रान्सफरबाट ३ लाख ७४ हजार ७ सय ३२ रुपैयाँ आएको प्रहरीले फेला पारेको थियो । त्यस्तै नेपाली राष्ट्रिय टिमका फिजियो डेजिबले पनि म्याचफिक्सिङ मिलाउने गरेको र मैदानमै पुगेर पैसा लिने गरेको प्रहरी अनुसन्धानमा देखाइएको थियो । 

खेलकुद

‘अन्जान काम’ मा दोषी जोकोभिच

कोरोना भाइरस संक्रमणको महामारीले प्रतियोगिता हुने नहुने नै टुंगो थिएन । तर जतिबेला हुने भयो, जोकोभिच कीर्तिमान १८ औं ग्रान्ड स्लामका लागि स्वाभाविक र निर्विकल्प सम्भावित विजेता थिए ।
- कान्तिपुर संवाददाता
आफूले बल प्रहार गर्दा लागेकी लाइन जजसाग माफी माग्दै नोभाक जोकोभिच । कोर्टबाट बाहिरिादै जोकोभिच (दायाँ) ।तस्बिर : एपी

न्युयोर्क (रोयटर्स)– यूएस ओपन टेनिसमा आफ्नो सर्भिस ब्रेक भएपछि नोभाक जोकोभिचले आफूलाई सम्हाल्नै सकेनन् । रिसले बल के प्रहार गरे, त्यो नै उनका लागि यूएस ओपनबाट बाहिरिन पर्याप्त रह्यो । यो खुबै सनसनीपूर्ण पनि रह्यो । आखिरमा विश्व नम्बर एक खेलाडीले प्रहार गरेको बल लाइनमा बसेकी निर्णायकको घाँटीमा लागेपछि जोकोभिच प्रतियोगिता खेलिरहन अयोग्य घोषित भएका छन् । यो अन्जानमा भएको काम थियो, तर उनी पूर्णतः दोषी थिए ।
उनी प्रतियोगिताको उपाधिलाई सबैभन्दा ठूला निर्विवाद प्रत्याशी थिए, पहिलो सेटमा ६–५ ले पछाडि रहन उनले सर्भिस ब्रेकको स्थिति सामना गरे । यसपछि नै त हो, नाटकीय घटना अगाडि आएको । खेल चौथो चरणको थियो अनि प्रतिद्वन्द्वी थिए, स्पेनका पाब्लो क्यारोनो बुस्टा । खेल भने आर्थर एस स्टेडियममा भइरहेको थियो । कुनै खराब नियतबिना गरिएको यो घटनापछि ती महिला निर्णायक कोर्टमै ढलिन्, उनी आफ्नो घाँटी समाइरहेकी थिइन् र उनको स्वरमा पीडा थियो ।
यसमा कुनै पनि शंका थिएन, जोकोभिच ती महिला निर्णायकलाई ताकेर बल प्रहार गरिरहेका थिए भनेर । लगत्तै उनी ती महिलातर्फ गए र माफी पनि मागे । तर यो ग्रान्ड स्लाम टेनिसको नियम नै त हो, कोही कसैमाथि प्रतिस्पर्धाका क्रममा शारीरिक आघात पुग्ने काम गर्न नहुने । जोकोभिचले गरेको कामले भने त्यस्तै आघात पुगेको थियो । प्रतियोगिताका रेफ्री रोरेन फ्रिमेलले तुरुन्तै चेयर अम्पायर एरेली टुर्टेसँग कुरा गरे ।
त्यसपछि प्रतियोगिताका सुपरभाइजर आन्द्रेस एगली पनि अगाडि आए, तीनपल्टका यूएस ओपन विजेतासँग लामो कुरा भयो । जोकोभिचको जिकिर थियो, आफूले यो सबै काम जानाजान गरेको होइन । उनी लगातार भनिरहेका थिए, आखिरमा ती महिलालाई अस्पताल त लानुपरेको छैन । तर १२ मिनेटको छलफलपछि निचोड थियो, प्रतियोगिता खेलिरहन जोकोभिच अयोग्य भए । पछि निर्णय सुनाइयो, जोकोभिचलाई यस्तो दण्ड दिनुबाहेक अन्य कुनै विकल्प पनि थिएन । निर्णयमा भनिएको छ, ‘लाइनमा बसेकी पदाधिकारी पक्कै पनि घाइते भएकी छन् । जोकोभिचले रिसले यो काम गरेका थिए । उनले जानाजान नै बल प्रहार गरेका हुन् ।’ प्रतियोगिताका आयोजकका अनुसार ती महिला पदाधिकारी ठीक छिन्, तर उनको थप परिचय दिइएको छैन । आफ्नो कुनै प्रकारको जिकिर नचल्ने भएपछि जोकोभिचले आफ्ना प्रतिद्वन्द्वी बुस्टासँग हात मिलाए । बुस्टा आफैं पनि स्तब्ध थिए । जोकोभिचले पत्रकारसँग कुरा गर्न ठीक मानेनन् ।
उनी खेलपछिको पत्रकार सम्मेलनमा बसेनन् । पछि ३३ वर्षीय सर्बियाली खेलाडीले इन्स्ट्राग्राममार्फत माफी मागेका छन् । उनले त्यसमा लेखेका छन्, ‘पूरा घटनाक्रमले मलाई स्तब्ध र दुःखित तुल्याएको छ । म ती महिला पदाधिकारीसँग माफी माग्न चाहन्छु । मेरो कारण उनी समस्यामा परिन् । यो पूरा घटना अन्जानमा भएको थियो, तर गलत भने पक्कै थियो । म आफ्नो व्यवहारका लागि यूएस ओपन र यससँग सम्बन्धित सबैसँग माफी माग्न चाहन्छु ।’ विश्व टेनिसकै लागि असाधारण वर्ष रहेको सन् २०२० को यूएस ओपनमा थप अनपेक्षित घटना भएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीले प्रतियोगिता हुने नहुने नै टुंगो थिएन । तर जतिबेला हुने भयो, जोकोभिच कीर्तिमान १८ औं ग्रान्ड स्लामका लागि स्वाभाविक र निर्विकल्प सम्भावित विजेता थिए । आखिरमा उनले चौथो चरण अगाडि कुनै पनि खेल गुमाएका थिएनन्, पूरा २०२० मै । न्युयोर्कमा विजेता रहेको भए, उनी राफेल नाडलको १८ र रोजर फेडेररको २० ग्रान्ड स्लाम उपाधिको नजिक पुग्थे । यी दुवै यसपालि सहभागी थिएनन् ।
अब जोकोभिच यूएस ओपनबाट अयोग्य घोषित भएपछि यस प्रतियोगिता खेल्न क्रममा प्राप्त गरेका सबै एटीपी अंक खोसिने छ र चौथो चरण पुगेबापत उनले प्राप्त गर्ने २ लाख ५० हजार डलरको पुरस्कार राशि पनि जरिवानाका रूपमा लिइने छ । खेलका क्रममा टेनिस पण्डितका भूमिका निभाइरहेका सबै पूर्वखेलाडीले जाकोभिचमाथि भएको कारबाहीको समर्थन गरेका छन् । टिम हेनम्यानले भनेका छन्, ‘जोकोभिचमाथि ठीक निर्णय भएको छ ।’
सन् १९९५ मा यस्तै घटनाका लागि हेनम्यान विम्बल्डनबाट अयोग्य घोषित भएका थिए । उनले भनेका छन्, ‘जोकोभिचले जानेर लाइन जजमाथि प्रहार गरेका होइनन्, तर उनले बल प्रहार गरेको हो, त्यसले ती जजलाई लागेको पनि हो ।
आफ्नो कामको जिम्मेवारी जोकोभिचले लिर्नैपर्छ । डिफेन्डिङ च्याम्पियन नाडल र फेडेररको अनुपस्थितिमा अब जोकोभिच पनि नरहे पनि यसपल्टको यूएस ओपनले नयाँ पुरुष विजेता पाउने निश्चित भएको छ ।
जोकोभिचका लागि यो वर्ष धेरै अर्थमा सुखद रहेन । जुनमा उनले आयोजना गरेको प्रदर्शन प्रतियोगिताका लागि उनको चर्को आलोचना भएको थियो । त्यस क्रममा उनी र अरू केही खेलाडी कोभिड–१९ बाट संक्रमित भएका थिए । अन्त्यमा जोकोभिचले भनेका छन्, ‘सबै निराशाजनक घटनाक्रम मेरा लागि शिक्षा भएको छ ।’ विश्व नम्बर २७ का पाब्लो क्यारोनो बुस्टा भने यी सबै घटनापछि क्वाटरफाइनल पुगेका छन् । त्यसमा डेनिस सापोभालोभको सामना गर्नेछन् । 

खेलकुद

इंग्ल्यान्डलाई ट्वान्टी–२० सिरिज

- कान्तिपुर संवाददाता

साउथह्याम्पटन (एएफपी)– इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० सिरिज आइतबार अन्तिम खेलअगाडि नै जितेको छ । इंग्ल्यान्ड दोस्रो खेलमा ६ विकेटले विजयी रह्यो । तीन खेलको सिरिजमा निर्णायक रूपमा २–० ले अगाडि रह्यो । पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
त्यसमा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए । जवाफमा इंग्ल्यान्डले १८.५ ओभरमात्र बाँकी छँदै १ सय ५८ रन बनायो । जोस बटलरले छक्का प्रहार गर्दै टिमलाई जितसम्म पुर्‍याए र उनी ५४ बलमा ७७ रन बनाएर नटआउट रहे । अब इंग्ल्यान्डले तेस्रो खेल जितेर ट्वान्टी–२० क्रिकेटको नम्बर एक स्थान कब्जा गर्न सक्नेछ ।

खेलकुद

कान्छा खेलाडीको गोलमा स्पेन विजयी

- कान्तिपुर संवाददाता

म्याड्रिड (रोयटर्स)– स्पेनिस फरवार्ड अंशु फाती आइतबार आफ्नो देशका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् र त्यस प्रदर्शन मद्दतमा स्पेनले यूईएफए नेसन्स लिग फmुटबलमा युत्रेनलाई ४–० ले हरायो । त्यस जितमा कप्तान सर्जियो रामोसले दुई गोल गरे । फातीले ३२ औं मिनेटमा गोल गरे र उनले यो उपलब्धि १७ वर्ष ३ सय ११ दिनमा प्राप्त गरेका हुन् ।

यसक्रममा उनले स्पेनी फुटबलको ९५ वर्ष पुरानो कीर्तिमान पनि भंग गरेका छन् । स्पेनका लागि चौथो गोल फेरान टोरेसले गरे । यही समूहमा जर्मनी र स्विट्जरल्यान्डले १–१ को बराबरी खेले । अन्य खेलमा ग्रिसले कोसोभोलाई २–१ ले हरायो भने सर्बिया र टर्कीले गोलरहित बराबरी खेले । 

खेलकुद

फेन्सिङले डेढ सयको कोरोना बिमा गर्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल फेन्सिङ संघले खेलाडी, प्राविधिक जनशक्ति र पदाधिकारीको कोरोना बिमा गर्ने भएको छ । विश्व फेन्सिङ दिवसको अवसरमा सोमबार आयोजित भर्चुअल कार्यक्रममा संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।
संघका महासचिव सुजनलाल श्रेष्ठका अनुसार खेलाडी र प्रशिक्षक गरी १२० जना, निर्णायक १० जना तथा पदाधिकारी १९ जना गरी कुल १ सय ४९ जनाको कोरोना बिमा संघले गर्न लागेको हो । ‘बिमाका लागि लाग्ने सम्पूर्ण खर्च फेन्सिङ संघले बेहोर्ने छ,’ उनले भने । कार्यक्रमलाई विस्तार गर्दै परिणाममुखी बनाउनको लागि तथा खेलाडीको प्रतिनिधित्व गराउनका लागि एथलिट कमिसन गठन गर्ने निर्णय पनि संघले गरेको छ ।
मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले फेन्सिङबाट ४ रजत र ६ कांस्य गरी कुल १० पदक जितेको थियो । दक्षिण एसियाली खेलकुदको महाकुम्भमा फेन्सिङले प्रवेश पाएको यो नै पहिलो हो । ‘कोरोना भाइरसको महामारीले घरघरमै रहे पनि हाम्रा खेलाडी र प्रशिक्षकहरूले आफ्नै किसिमले ट्रेनिङ गरिरहेका छन्, जसको भिडियो बनाएर उनीहरूले संघलाई पठाइरहेका छन्,’ महासचिव श्रेष्ठले सुनाए ।