You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान

प्रहरीले टुँडिखेल छिर्न नदिएपछि बृहत् नागरिक आन्दोलनद्वारा छेउमै कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक
- जनकराज सापकोटा

(काठमाडौं) - बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो ।
आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले अवरोध गरेपछि ‘करोडौं मानिसको रगत र पसिनामा तिम्रो सत्ताको जग बसेको छ’ भन्ने नारा लेखिएको कालो टिसर्टसमेत लगाएका आन्दोलनकारीले संकटा मन्दिर छेउमै घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्रले ९ सवाल उठाउँदै राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी ऐतिहासिक कार्यभार पूरा नहुने निष्कर्ष निकालेको छ । २००७ यता निरन्तर घात भोगिरहेको लोकतन्त्रलाई जीवन्तता दिन बृहत् नागरिक आन्दोलनमार्फत नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान पनि गरिएको छ । नागरिक आन्दोलनले भागबन्डा, संकीर्ण स्वार्थ र शक्ति आर्जनलाई सर्वोपरि ठान्ने दलतन्त्र नै मुलुकको समग्र उन्नतिको बाधक मानेको छ । घोषणापत्रमा भनिएको छ, ‘सत्तालिप्सा र आपसी कलहमै केन्द्रित भएर मुलुकलाई बन्धक बनाउने अधिकार दलहरूलाई छैन । यस्तो दलतन्त्र नागरिकले खोजेका होइनन् ।’
नागरिक अभियन्ता जेबी विश्वकर्माले पढेर सुनाएको घोषणापत्रले प्रधानमन्त्री ओलीको कदममाथि मात्रै होइन, अन्य राजनीतिक दलहरूमाथिसमेत प्रश्न उठाएको छ । घोषणापत्रमा कोरोनाको विश्वव्याधीको विषम परिस्थितिमा समेत जनताका आधारभूत सरोकारबाट राजनीतिक क्रियाकलाप विमुख रहेको, दलहरू आन्तरिक कलह र शक्ति मोहमा फसेर संकटमा पारिएको उल्लेख
गर्दै राजनीतिक दलहरूले संवैधानिक संस्कार आत्मसात् गर्न नसकेको बताइएको छ । घोषणापत्रमा नागरिक आवाजसँग डराएर सरकार सञ्चारलाई नियन्त्रण गर्न, फोन संवाद ट्याप गर्न, सामाजिक सञ्जालमा अंकुश लगाउन उद्यत भइरहेको उल्लेख गरिएको छ ।

मातृभाषा र सांस्कृतिक अधिकारमा बन्देज लगाउने छुट कसैलाई नभएको जनाउँदै घोषणापत्रमा यौनिक दुर्व्यवहार, बलात्कार, हिंसा र हत्या मौलाउने राज्यमा लैंगिक समानता फगत झूटो वाचा भएको टिप्पणी गरिएको छ । प्रतिनिधिसभा विघटनपछि विभिन्न भाषिक र जातीय समुदायलाई आन्दोलनमा जोड्दै अघि बढेको नागरिक आन्दोलनले लोकतन्त्रमा पनि भाषिक, सांस्कृतिक र जातीय उत्पीडनको शृंखला निरन्तर रहेको जनाएको छ । आदिवासी जनजातिमाथिको ऐतिहासिक उत्पीडन, राजनीतिक, आर्थिक, सांस्कृतिक र भाषिक शोषणलगायतका संरचनागत विभेद चरम रहेको नागरिक आन्दोलनको ठम्याइ छ । घोषणापत्रले लोकतन्त्र स्थापनापछि देशभित्रै इलम र मौलिक उद्यमको अवसर सिर्जना नभएकाले कोरोना कहरबीच आप्रवासनको खोजीमा जान विवश तन्नेरी पुस्ताप्रति चिन्ता जनाएको छ ।
समृद्धिका नाममा मानव जीवनलाई पराश्रित बनाउने, प्रकृतिको दोहन गर्ने, सभ्यता र सांस्कृतिक धरोहरलाई अस्वीकार गरी ध्वंस पार्ने, आदिवासीलाई थाततलोबाट विस्थापन गर्ने र मौलिक सम्पदाको ज्ञानलाई विनाश गर्ने सरकारी सोच हावी भएको घोषणापत्रमा उल्लेख छ । सम्पदा संरक्षणका सामाजिक आन्दोलनलाई पनि समाहित गर्न खोजिरहेको नागरिक आन्दोलनले यसअघि कमलपोखरीको माटोको टीका लगाएर प्रदर्शन गरेको थियो । नागरिक आन्दोलनले सामर्थ्य र पहिचानका आधारलाई नजरअन्दाज गरेर संघीयता अघि बढाइएको र मधेसी, मुस्लिम र थारूका संघर्षदेखि कर्णालीसहितको भौगोलिक असमानतालाई अपेक्षाकृत सम्बोधन नगरिएको भन्दै चिन्ता जनाएको छ । घोषणापत्रमा संघीयताका नाममा हावी एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न जनताले लडाइँ थाल्नुपर्ने बताइएको छ ।
घोषणापत्र लेखनमा संलग्नमध्ये एक राजनीतिशास्त्री भास्कर गौतमले लोकतन्त्र स्थापनापछि पनि नागरिक समाज र समुदायले स–सानो स्वरूपमा जारी राखेका आन्दोलनलाई सरकारले लोकतन्त्रको खतराका रूपमा अर्थ्याउने भाष्य तयार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने प्रयास घोषणापत्रले गरेको बताए । ‘विभिन्न माग र मुद्दासहित
चलेका अनेकन आन्दोलन यही संरचनागत विभेदका उपज हुन् । तिनीहरू एकै ठाउँमा जोडिएर
बृहत् नागरिक आन्दोलन निर्माण गर्नुपर्छ भनेर घोषणापत्र ल्याइएको हो,’ उनले भने ।
मानवअधिकारकर्मी मोहना अन्सारीले घोषणापत्रले नागरिक आन्दोलनबारे बृहत् रूपमा बुझाइ निर्माण गर्न सघाउने बताइन् । उनले लोकतन्त्र र नागरिक अधिकारमाथिका अनेकन चुनौतीलाई घोषणापत्रले समेटेको उल्लेख गरिन् । ‘यसले नागरिक चुनौतीका अनेकन स्वरूप बुझाउनेछ र समाजमा जारी विभिन्न शोषणबारे आवाज उठाउन सघाउनेछ,’ उनले भने ।

ॅनो गुलामी, नो सलामी’
२००७ सालमा नागरिक स्वतन्त्रताको विगुल फुकिएको टुँडिखेल अहिले नेपाली सेनाको नियन्त्रणमा छ । त्यही ठाउँमा फेरि नागरिक उभिन पाउनुपर्छ भन्ने माग राखेर शुक्रबार नागरिक आन्दोलनकारीले टुँडिखेल मार्च गरेका थिए । रत्नपार्कबाट परिक्रमा गरेर टुँडिखेल छिर्न खोजेका उनीहरूलाई सुरक्षाकर्मीको बाक्लो घेराले संकटा मन्दिरछेउमा रोकेको थियो । कार्यक्रम सञ्चालन
गरेकी मानवअधिकारकर्मी मोहना अन्सारीले सुरुमै प्रश्न गरेकी
थिइन्, ‘यो टुँडिखेलमा हामीलाई किन छिर्न दिइएन ?’
आन्दोलनकारी भित्र छिर्न सक्ने भन्दै कार्यक्रम स्थलका अलावा खुला मञ्च र सैनिक मञ्चबीचको सानो गल्ली छेउमा पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । टुँडिखेलभित्र छिर्न नपाएपछि त्यसको बगलमा उभिएर लेखक खगेन्द्र संग्रौलाले भने, ‘जोसुकैले जेसुकै भने पनि भन्ने कुरा जम्मा यत्ति हो, टँॅडिखेल नागरिकको हो, टुँडिखेल नेपालीको हो । टुँडिखेलबाट जंगी अड्डा पन्छिनुपर्छ ।’
कुनै पनि सभ्य सहर र बाक्लो बस्तीका बीचमा जंगी अड्डा नहुने उल्लेख गर्दै उनले भने, ‘टुँडिखेललाई पार्क, पुष्प वाटिका बनाउन, वृद्धवृद्धा आराम गर्ने, मनोरञ्जन गर्ने, केटाकेटी खेल्ने ठाउँ बनाउन टुँडिखेल कब्जा गरिनेछ ।’
पत्रकार तथा लेखक नारायण वाग्लेले खरीको बोटलाई साक्षी राखेर प्रजातन्त्र घोषणा गरिएको ७० वर्षपछि सही साइतमा सही ठाउँमा आफूहरू हक जताउन टुँडिखेलभित्र छिर्न खोजेको बताए । ‘हामीलाई बन्देज लाग्यो र नेपाली लोकतन्त्रको स्तर आज उदांगो भयो,’ उनले भने । खरी बोट मासिएको र प्रजातन्त्र भासिएको उनको भनाइ थियो । अहिले न संस्कृतिसहितको प्रकृति रहेको न आवाजसहितको प्रजातन्त्र रहेको उनले बताए । वाग्लेले प्रजातन्त्रका नाममा
सलामी चढ्न थालेको उल्लेख गर्दै भने, ‘अब नो सलामी, नो गुलामी ।’ उनले मुक्त टुँडिखेल र खुला लोकतन्त्र चाहिने बताए ।
ज्यापू महागुठीका राजभाइले आफूहरूको गौरव र पौरख टुँडिखेल खोस्ने प्रयास अस्वीकार्य हुने बताए । आदिवासी अभियन्ता मोहन गोले तामाङले गणतन्त्र बयलगाडामा चढेर अमेरिका जाने भन्नेहरूले नल्याएको बताए । ‘एक दिन हामी टुँडिखेलको ताल्चा तोडेर भित्र छिर्ने छौं र कार्यक्रम गर्ने छौं,’ उनले भने ।
नेपाली सेनाले ओगटेर सर्वसाधारणलाई टँॅडिखेलको एउटा भागमा प्रवेश नदिइएको तथ्य उधिन्दै नागरिक अभियन्ता रीता साहले सरकार र सेनाले जनताको टुँडिखेल खोसेको बताइन् । उनले ३० वर्षअघि गजेन्द्रनारायण सिंहलाई टुँडिखेलमै भाषण गर्दा गालीगलौज गरिएको इतिहास सम्झिइन् । ‘३० वर्षपछि आज पनि मलाई टुँडिखेलभित्र छिरेर भाषण गर्न दिइएन,’ उनले भनिन् । साहले बलात्कार र यौन हिंसाविरुद्ध केही दिनअघिको प्रदर्शनमा मैथिलीमा कविता पढ्ने सपना सञ्जीवनी, आन्दोलनमा सहभागी मोहना अन्सारी र आफूलगायतलाई सामाजिक सञ्जालमार्फत गालीगलौज भइराखेको, यौन हिंसाको धम्की आइरहेको बताइन् । ‘धर्मका ठेकेदार हौं भन्नेहरू मुस्कान खातुनमाथि एसिड छ्याप्दा किन बोलेनन्, ९० वर्षदेखि ६ वर्षसम्मका बलात्कृत हुँदा किन बोलेनन् ? दाइजोका कारण महिलालाई जिउँदै जलाइदा किन बोलेनन् ?’
उनले भनिन् ।

निरन्तर नागरिक खबरदारी
नागरिक आन्दोलनले यसअघि सहिद सप्ताहको छेको पारेर शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको टेकु, धर्मभक्त माथेमालाई मारिएको सिफल र शोभाभगवतीमा गोली ठोकेर मारिएका गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकअघि प्रदर्शन गरेको थियो । नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको घरबाट सुरु गरी शीतल निवासको बगलमा पुगेर प्रश्न गरेको थियो । बृहत् नागरिक आन्दोलनले शुक्रबार टुँडिखेलभित्रै छिर्ने योजना बनाएको थियो । रत्नपार्क छेउको शंखधर साख्वाको सालिक छेउमा भेला भएर अघि बढेको नागरिक आन्दोलन ‘टुँडिखेल फिर्ता गर’, ‘सबैखाले प्रतिगमन मुर्दावाद’ जस्ता नारा लगाउँदै अघि बढेको थियो ।
आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी, मानवअधिकारकर्मी कपिल श्रेष्ठसँगै साहित्यकार, कलाकार र विभिन्न पेसाकर्मी सहभागी थिए ।
मानवअधिकारकर्मी मोहना अन्सारीले ७० वर्षयताका अनेकन आन्दोलनमा हिँडेकादेखि आफू हुर्किंदा हुर्किंदै लोकतन्त्र मासिन लागेको देख्ने नयाँ पुस्तासम्म आन्दोलनमा सहभागी हुनु अर्थपूर्ण रहेको बताइन् । बैसाखी टेकेर आन्दोलनमा होमिएका जिलेसन शाहले राजनीतिक दलहरूले फ्टयाइँ गरेको र त्यसलाई सच्याउन आफूहरू सडकमा आउनुपरेको बताए ।
उनले दुई तिहाइको सरकारले नागरिकको हितमा केही नगरेको र एक जनाको हठले यस्तो अवस्था
आएको टिप्पणी गरे । संकटा मन्दिरको छेउमा पसल गरेर बसेका एक
जनाले एक महिनायता बारभित्र पनि त्रिपालले घेरेर राखिएको र जनताको टुँडिखेललाई जनताकै आँखाबाट छोपिएको बताए ।
नागरिक आन्दोलनले यसअघिका कार्यक्रममा बैतडेली, मैथिली, राई, नेपाल भाषालगायतका भाषिक समुदायका व्यक्तिहरूलाई अभिव्यक्तिको मञ्च उपलब्ध गराएको थियो । शुक्रबार पनि बहुभाषिक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा नेपाल भाषामा ज्यापू महागुठीका अध्यक्ष राजभाइ जकःमीले कवितामार्फत नागरिकको टुँडिखेल कसले खोस्यो भनेर प्रश्न उठाएका थिए । कार्यक्रममा बोलेका सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरदेखि नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङसम्मले लोकतन्त्रको स्थितिमाथि चिन्ता जताएका थिए ।
सपना सञ्जीवनीले कवितामार्फत समाजमा व्याप्त जातीय, लिंगीय असमानता र अल्पसंख्यकमाथि थिचोमिचोलाई आफूले अस्वीकार गर्ने बताइन् । उनले कवितामार्फत नै भनिन्– जहाँ कन्या भ्रूण हत्यालाई स्वीकार गरिन्छ, जहाँ पुरुषबाहेकका अस्तित्व स्वीकार गरिन्न, जुन समाजमा छूत अछूतको व्यवहार गरिन्छ र जहाँ शोषण दमन गरिन्छ, त्यो समाजलाई म बहिष्कार गर्छु ।
कवि केवल विनावी र राजु
स्याङ्तानले पनि कवितामार्फत विभिन्न समयक्रममा नागरिकको खोसिएको अधिकारको खोजी गर्नुपर्ने सवाल उठाएका थिए । चोरी औंला देखाइएको ब्यानर भएको नागरिक आन्दोलनअन्तर्गत यसअघि वसन्तपुरमा कविता वाचन, बलात्कार र यौन हिंसाविरुद्ध महिलाको आन्दोलन, त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन भइसकेका छन् । कवि सरिता तिवारीले भनिन्, ‘खोकनादेखि माडीको कुसुम खोलासम्मका
महिला उत्पीडनका सबैखाले आन्दोलनलाई एकताबद्ध गरेर हामी यहाँ आएका छौं ।’

घोषणापत्रका मुख्य सवाल
- प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी
- भागबन्डा, संकीर्ण स्वार्थ र शक्ति आर्जनलाई सर्वोपरि ठान्ने दलतन्त्र नै मुलुकको समग्र उन्नतिको बाधक
- राजनीतिक दलहरुले संवैधानिक संस्कार आत्मसात् गर्न सकेनन्
- राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी ऐतिहासिक कार्यभार पूरा हुँदैन
- यौनिक दुर्व्यवहार, बलात्कार, हिंसा र हत्या मौलाउने राज्यमा लैंगिक समानता फगत झूटो वाचा
- संघीयताका नाममा
हावी एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न जनताले लडाइँ थाल्नुपर्छ

मुख्य पृष्ठ

प्रदेश प्रमुख परियार बर्खास्त

प्रजातन्त्र दिवसको कार्यक्रममा सरिक भएर फर्किएलगत्तै पदमुक्त गरिएका परियार गृहमन्त्री थापाकै कोटाबाट प्रदेश २ प्रमुखमा नियुक्त भएका थिए
- बिनु सुवेदी

(काठमाडौं) - प्रदेश २ का प्रमुख तिलक परियार शुक्रबार बिहान ७१ औं प्रजातन्त्र दिवसको प्रमुख अतिथिका रूपमा प्रदेश सरकारले जनकपुरमा गरेको कार्यक्रममा सरिक भए । प्रजातन्त्र दिवस मनाएर फर्किएको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदमुक्त गरेको समाचार आयो । त्यसको एकछिनपछि परियारले राष्ट्रपति कार्यालयबाट औपचारिक इमेल पाए ।
गृहमन्त्री रामबहादुर थापाको कोटामा प्रदेश प्रमुख सिफारिस भएका परियारले २०७६ कात्तिक १९ मा शपथ लिएका थिए । ‘हाम्रो झैझगडा र भनाभन पनि होइन, म कुनै गुट/उपगुटमा खुलेको पनि थिइनँ, तटस्थता र निष्पक्षताको भूमिका खेलिरहेको थिएँ,’ परियारले कान्तिपुरसँग भने, ‘उहाँहरूले प्रतिनिधिसभालाई ‘कु’ गरेको जस्तै एकाएक मलाई पनि ‘कु’ गर्नुभयो ।’ राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ (१) को ‘ख’ अनुसार परियारलाई पदमुक्त गरेकी हुन् । संविधानको उक्त धारामा पदावधि समाप्त भएमा या त्यसअघि नै राष्ट्रपतिले पदमुक्त गरेमा प्रदेश प्रमुखको पद रिक्त हुने व्यवस्था छ । राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले सरकारको सिफारिसमा राष्ट्रपतिले परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेको बताए ।
२०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट बाहिरिँदै गर्दा नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई २०७६ कात्तिक १८ को मन्त्रिपरिषद् बैठकले पदमुक्त गरी परियारलगायतलाई प्रदेश प्रमुख बनाएको थियो । पूर्वमाओवादीलाई तीन र पूर्वएमालेलाई चारवटा प्रदेश प्रमुखको भागबन्डा गरिएको थियो । एमालेको पक्षमा परेका चारवटै प्रदेश प्रमुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूलाई मात्रै सिफारिस गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । पूर्वमाओवादीको भागमा परेकामध्ये प्रदेश ७ को प्रमुख बनेकी शर्मिलाकुमारी पन्त बेपत्ता परिवार, प्रदेश २ का परियार दलित र गण्डकीका प्रमुख अमिक शेरचनले जनजाति समुदायको प्रतिनिधित्व गरेका थिए । परियार दलित समुदायबाट प्रदेश प्रमुख बन्ने पहिलो तथा एकमात्रै व्यक्ति थिए । पूर्वमाओवादीमै पनि थापाको कोटाबाट प्रदेश प्रमुख बनेका परियार पछिल्लो समय कुनै पनि समूहमा खुलेका थिएनन् । केही समयअघि जनकपुर रेल्वे स्टेसनको उद्घाटन गर्न जनकपुर पुगेका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न परियार जनकपुर विमानस्थलमा गएका थिए ।
परियारले संघीय सरकारले आफूअनुकूल व्यक्ति राख्नका लागि आफूलाई हटाइएको हुन सक्ने बताए । ‘पहिलेदेखि नै आफ्नो मान्छेलाई राख्ने उहाँहरूको तयारी थियो । कोही न कोही खाली गराउनुपर्ने थियो,’ परियारले भने, ‘अर्को कुरा
प्रदेश २ को सरकार संघीय सरकारअनुकूल नभएकाले अग्रगामी परिवर्तनकारीहरूकै सम्बन्ध भयो भने त केन्द्रलाई असहयोग हुने हो कि भन्ने आशंका हुँदै गयो होला, मलाई हटाउनुभयो ।’
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मधेस बाहुल्य रहेको प्रदेश २ मा मधेसकै समुदायबाट प्रमुख राख्दा उपयुक्त हुने भएकाले यस्तो निर्णय गरिएको बताए । ‘सरकारले कसैलाई हटाउन सक्छ, कसैलाई राख्न सक्छ, नेतृत्व परिवर्तन भइरहन सक्छ,’ मन्त्री गुरुङले भने, ‘मधेसलाई समृद्ध बनाउन मधेसकै व्यक्तित्व पनि चाहिन्छ, त्यसैले हामीले योग्य व्यक्तिलाई नियुक्त गरेका हौं ।’
गत पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेसँगै व्यवहारतः विभाजित नेकपाको समस्या प्रदेशमा पनि छ । दाहाल–नेपाल नेतृत्वका प्रदेश सांसदले प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे पनि सत्ताकै अवरोधका कारण प्रदेशसभाहरू चल्न सकेका छैनन् । प्रदेश २ मा भने पहिलेदेखि नै ओली र नेपाल समूहका सांसदबीच चर्को मतभेद थियो । तर प्रदेश प्रमुख परियारले कसैको पक्ष वा विपक्षमा बोल्ने र लबिइङ गर्ने गरेका थिएनन् । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले परियारलाई बिनाकारण पदमुक्त गरेर सरकारले पूर्वाग्रहपूर्ण व्यवहार गरेको बताए । ‘यो सरकारको पूर्वाग्रही निर्णय हो, दलित समुदायबाट एक जनामात्रै हुनुहुन्थ्यो, दलित समुदायमाथिको प्रहार पनि हो र समावेशी र समानुपातिक व्यवस्थाविरुद्ध हो,’ शर्माले भने ।
प्रदेश प्रमुख हुनुअघि नेकपाका केन्द्रीय सदस्य रहेका परियार पुराना वामपन्थी नेता हुन् । २०२८ सालदेखि राजनीति गरेका उनी लामो समय भूमिगत रहे । उनी २०६४ सालको पहिलो संविधानसभामा तत्कालीन एकीकृत माओवादीबाट बाँके क्षेत्र नम्बर १ मा निर्वाचित भएका थिए । दोस्रो संविधानसभा चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा लागेर उनले चुनाव बहिष्कार गरे र पछि रामबहादुर थापाहरूसँगै पुनः माओवादीमा फर्किए । केही दिनअघि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र परियारका स्वकीय सचिव अनिल पासवानबीच भएको टेलिफोन संवाद बाहिरिएको थियो । उक्त संवादमा भट्टराईले आफू केपी ओलीको छोरा भएको बताएका थिए । उक्त संवादमा दुवै जनाले अश्लील शब्द प्रयोग गरेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले परियारलाई हटाइनु सरकारले गरिरहेको सेटिङको अर्को शृंखला भएको बताएका छन् । पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक चलिरहेका बेला उक्त खबर थाहा पाएपछि दाहालले प्रतिगमन र सेटिङको सिलसिला जारी रहेको भन्दै थप सशक्त प्रतिरोध गर्नुपर्ने बताएका थिए । ‘२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने नीचताको पराकाष्ठाका साथै सम्पूर्ण दलित समुदायमाथि नै अपमान हो,’ उनको भनाइ उद्धृत गर्दै स्वकीय सचिव गंगा दाहालले शुक्रबार साँझ फेसबुकमा लेखेकी छन् ।

कांग्रेसले पनि परियारलाई हठात् हटाउने सरकारको निर्णयको विरोध गरेको छ । प्रवक्ता विश्वप्रकाश
शर्माले प्रदेश २ प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध गरे ।
‘अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ
भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरूपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,’ शर्माले भनेका छन्, ‘संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको
सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न ।’
नयाँ प्रदेश प्रमुखमा झा
राष्ट्रपति भण्डारीले शुक्रबारै प्रदेश २ प्रमुखका रूपमा रौतहटका राजेश झा (अहिराज) लाई नियुक्त गरेकी छन् । लामो समय पत्रकारितामा बिताएका झाले पछिल्लो समय प्रधानमन्त्री ओलीका हरकदमलाई समर्थन गर्दै आएका थिए । मधेस मामिलामा पीएचडी गरेका झा केही वर्षअघि ‘मधेसवाणी’ पत्रिकामा मधेसको सशस्त्र समूहमा सैनिक भर्तीको विज्ञापन छापेको आरोपमा पक्राउ परेका थिए । उनी पोहोरदेखि नै प्रदेश प्रमुख बन्ने दौडमा थिए । उनले त्यसबारे आफ्ना निकटस्थहरूसँग सरसल्लाह पनि गरिरहेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका प्रदेश प्रमुख झाले शुक्रबारै शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा उनले शपथ लिँदा यसअघि संवैधानिक आयोगका पदाधिकारीले शपथ लिँदाकै जस्तो दृश्य दोहोरियो । झाको शपथमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् । नेकपाभित्रको विवादपछि मुख्य पाँच पदमा आसीनहरू पनि विभाजित छन् । उपराष्ट्रपति पुन र सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमप्रति असन्तुष्टि राख्दै आएका छन् । ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार दाहाल–नेपाललाई सन्देश दिने क्रमको सुरुवात परियारबाट भएको हो । ‘अब उहाँहरूको पक्षका अमिकजी र शर्मिलाजी हुनुहुन्छ,’ ती नेताले भने,
‘केन्द्र सरकारलाई उहाँहरूको कस्तो सहयोग रहन्छ र हामीलाई कस्तो मान्छेको आवश्यकता पर्छ, एक/दुई दिनमा थाहा भइहाल्छ ।’

ॅआन्दोलनमा बलियो समर्थन मिल्दै छ’
नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सबैतिरबाट बलियो समर्थन मिल्दै गएको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै आफूहरूले उठाएको एजेन्डामा जनता गोलबद्ध भएको उल्लेख गरेका थिए । उनीहरूले पार्टीका गतिविधिमा ओली पक्षबाट भ्रम छर्ने काम भइरहेकाले त्यसलाई नपत्याउन केन्द्रीय कमिटी सदस्यहरूलाई आग्रह गरेका थिए ।
बैठकमा अध्यक्ष नेपालले सर्वोच्च अदालतमा वकिलहरूले गरेको बहस हेर्दा कुनै हालतमा विघटन सदर हुन सक्ने ठाउँ नरहेकाले अब फैसला पनि त्यसैअनुसार आउने आकलन रहेको सुनाएका थिए । तर ओलीले साम, दाम प्रयोग गरेर हिँडिरहेको, पार्टीका नेता–कार्यकर्तालाई भड्काउन खोजेको उनले ब्रिफिङ गरेका थिए । कुनै पनि बेला निर्वाचन आयोग वा अन्यत्र पार्टीको पक्षमा रहेका नेताहरूका सम्पूर्ण कागजात आवश्यक पर्न सक्ने भन्दै बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकतालगायत कागजात जम्मा पारिएको थियो ।

Page 2
समाचार

विघटनको मुद्दा ११ गते 'हेर्दाहेर्दै’ मा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– प्रतिनिधिसभा विघटनको मुद्दामा दुवै पक्ष र एमिकस क्युरीको रायसमेत सुनुवाइ गरेको सर्वोच्च अदालतले आगामी मंगलबारका लागि पेसी तोकेको छ । सुनुवाइ सकिएपछि इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहसनोट पेस गर्न दुई दिन समय तोकेका छन् ।
एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले बहस सकेपछि प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई ‘बहसनोट पेस गर्नुभयो ?’ भनी सोधेका थिए । जवाफमा पाण्डेयले आइतबार पेस गर्ने जवाफ दिएपछि जबराले ‘सोमबार ल्याए पनि हुन्छ’ भनेका थिए । त्यसपछि उनले मंगलबार फेरि ‘हेर्दाहेर्दै’ का लागि पेसी तोक्न आदेश दिए । त्यसो भए मंगलबार निर्णय सुनाउने (निसु) भनी कानुन व्यवसायीहरूले प्रश्न गरेका थिए । प्रधानन्यायाधीश जबराले भने, ‘होइन, निसुको त प्रश्नै भएन । १० गतेसम्म बहसनोट भयो । ११ गते हेर्दाहेर्दै सकियो, त्यही दिन पनि हुन सक्छ । १२ गते पनि हुन सक्छ ।’
शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता संग्रौलाले सीमित सरकारलाई असीमित अधिकार नहुने तर्क गरेकी थिइन् । उनले संविधानको धारा ७६ बारे धारणा राख्दै त्यसका उपधारा एकपछि अर्को चरणका रूपमा प्रयोग हुने बताइन् । उनले संविधानमा कुनै निषेध नगरिएकाले उही दलका सांसदहरूले पनि अविश्वासको प्रस्ताव पेस गर्न सक्ने जिकिर गरिन् । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नहुने बताइन् । प्रधानमन्त्रीको अवशिष्ट अधिकार हुने दाबी गरिए पनि त्यो तहगत सरकारहरूको अधिकार बाँडफाँटका विषयमा रहेको उनको तर्क थियो ।

समाचार

१७ दिनपछि भागरथीको अन्त्येष्टि

- तृप्ति शाही

(बैतडी) - बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको शव बुझी परिवारले शुक्रबार महाकाली नदी किनारमा अन्त्येष्टि गरेका छन् । पोस्टमार्टमपछि उनको शव १५ दिनदेखि जिल्ला अस्पताल बैतडीमा थियो । माघ २३ गते घटनास्थलबाट शव उठाएर २४ गते पोस्टमार्टम गरिए पनि घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडान थियो । प्रहरीले बुधबार घटनामा संलग्न रहेको भन्दै भागरथी अध्ययनरत विद्यालयकै ११ मा पढ्ने १६ वर्षका एक किशोरलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
बिहीबार सरकारी वकिल कार्यालयमा अभियुक्त र उनका बुबालाई सँगै राखेर लिइएको बयानमा किशोरले बलात्कार र हत्या आफैंले गरेको स्विकारेपछि परिवारजनले शव बुझ्ने निर्णय गरेका हुन् । घटना उनी एक्लैबाट सम्भव नहुने भन्दै पीडित परिवारले विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका थिए । प्रयोगशालामा पठाइएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब, योनिबाट निस्किएको रगतको मेडिकल रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।
प्रहरीको प्राविधिक, स्थलगतलगायतका अनुसन्धानबाट उनी नै आरोपित भएको विश्वास लागेपछि शव बुझेको मृतकका काका शिवराज भट्टले बताए । ‘मृतक र अभियुक्त दिनेश भट्ट दुवै हाम्रै हुन् । प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट ऊ दोषी हो भन्ने प्रमाणित भएपछि शव बुझेर दाहसंस्कार गरेका हौं,’ उनले भने । आरोपितलाई अपराधीका रूपमा सजाय गरेपछि मेडिकल रिपोर्टसहित अन्य तथ्य प्रमाण परिवारलाई विश्वस्त पार्ने खालको हुनुपर्ने माग प्रहरी प्रशासनसँग राख्दै शव बुझिएको उनको भनाइ छ ।
माघ २१ गते भागरथी विद्यालयबाट घर जाने समय भएपछि आफू पनि कक्षा छाडेर गएको अभियुक्तले बयानमा बताएका छन् । बाटोमा ढुकेर बसेका बेला उनी आएपछि धकेलेर सडकबाट तल फालेको, लडेपछि घाँटी च्यापेको र बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बतायो । बलात्कार गरेपछि मृतकले ‘नमार छोडी दे’ भने पनि घर गएर अरूलाई भन्ने डरले फेरि घाँटी थिचेर मारेको र त्यहाँबाट घरतर्फ हिँडेको पनि अभियुक्तले बयान दिएका छन् ।
अभियुक्त सार्वजनिक गरेसँगै प्रहरीले बुधबार जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी सनातन धर्म माविमा कक्षा १२ मा पढ्थिन् ।

समाचार

कान्तिपुरकर्मी पुरस्कृत

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कान्तिपुर पब्लिकेसन्सले आफनो २८ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार ११ जनालाई पुरस्कृत गरेको छ । कोरोना महामारीका कारण विगतमा जस्तो यो वर्ष औपचारिक कार्यक्रम नगरिए पनि उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कृत गरिएको हो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पुरस्कृत भएकालाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । त्यसक्रममा अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले लोकतान्त्रिक मूल्यमान्यतालाई प्रवर्द्धन गर्दै पब्लिकेसन्सले निष्पक्ष पत्रकारिताको अभ्यासलाई अझै निखार्दै जाने बताए । पब्लिकेसन्सको सफलताका पछाडि कर्मचारीको उत्कृष्ट टिमवर्क रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यो ‘टिम स्पिरिट’ लाई कायम राख्न आग्रह गरे ।
पुरस्कृत हुनेमा कान्तिपुर दैनिककी सहायक वरिष्ठ उपसम्पादक बिनु सुवेदी, दार्चुला संवाददाता मनोज बडू, उपसम्पादक (फोटो पत्रकार) इलिट जोशी, काठमान्डु पोस्टका सहायक वरिष्ठ उपसम्पादक अर्जुन पौडेल, भरतपुर छापाखानाका जुनियर एक्जिक्युटिभ सञ्जीवकुमार भुजेल, फाइनान्सका सिनियर एक्जिक्युटिभ सन्तोष शर्मा, मार्केटिङ एक्जिक्युटिभ आनन्दकुमार सिंह, वितरण विभाग (डेस्क) का जुनियर एक्जिक्युटिभ रेखा कार्की, वितरक केशवप्रसाद पराजुली, प्रशासनका सुरक्षाकर्मी बाबुराम मिश्र र आईटी विभागका सहायक जितेन्द्रकुमार यादव छन् । २०४९ फागुन ७ गते ‘कान्तिपुर’ दैनिक र ‘द काठमान्डु पोस्ट’ गरी दुईवटा प्रकाशन थालेर कान्तिपुर पब्लिकेसन्सले आफ्नो यात्रा सुरु गरेको थियो ।

समाचार

चेयरम्यान बंगलामा सन्नाटा

राजनीतिक प्रतिशोध साधियो : परियार
- अजित तिवारी

(जनकपुर) - जनकपुर चुरोट कारखानाको चेयरम्यान बंगलामा यहाँको निकै चहलपहल हुने ठाउँमा पर्छ किनभने यो प्रदेश २ प्रमुखको सरकारी निवास हो । बंगलाको माथिल्लो तलामा प्रदेश प्रमुखको निवास र भुइँतलामा उनको सचिवालय छ । त्यसैले प्रदेश प्रमुख हुँदा बखत जचुकालिको चेयरम्यान बंगलामा बाक्लै चहलपहल हुन्छ । शुक्रबार अपराह्न भने बंगला सुनसान थियो । सुरक्षामा खटिएका नेपाली सेनाबाहेक अन्य मानिसहरू देखिएनन् । माथिल्लो तल्लाको बेडरुममा शुक्रबार पदमुक्त गरिएका प्रदेश २ का प्रमुख तिलक परियार सानो बटनवाला मोबाइलमा कसैसित आश्चर्य मान्दै कुरा गरिरहेका थिए, ‘किन हटाए ? म आफैं अचम्मित छु ।’
एउटा कल कटेपछि मोबाइलमा तारन्तार अरू कल आइरहेका थिए । सबैलाई उनले एउटै जवाफ दिँदै थिए, ‘खै, किन हटाए–हटाए, आफैं छक्क परेको छु ।’ अप्रत्याशित रूपमा पदमुक्त गरिएका उनी स्तब्ध देखिन्थे । कान्तिपुरसँग करिब २० मिनेटसम्मको कुराकानीमा परियारका आँखा रसाइरहे ।
बाँकेको कोहलपुरका परियार प्रदेश २ प्रमुखमा नियुक्त भएको भोलिपल्टै पदबहाली गर्न जनकपुर आउँदा श्रीमती चन्द्रालाई साथै ल्याएका थिए । संयोग कस्तो भने, बिरामी परेर चन्द्रा बिहीबार मात्रै काठमाडौं पुगिन् । चेयरम्यान बंगलाको अन्तिम दिनको बसाइमा परियार एक्लै परे । प्रमुख स्वकीय सचिव पद्म विश्वकर्माका अनुसार अब शनिबारसम्ममा सरसामान सबै बुझबुझारथ गरेर परियार पनि काठमाडौं फर्किने योजना छ । ‘प्रदेश प्रमुखज्यूको कार्यालयका सचिव–कर्मचारीसित सरसल्लाह हुँदै छ,’ विश्वकर्माले भने । ‘पदमुक्त भएपछि पदमा चिप्केर बसिरहनुपर्ने कुरो आएन नि, तुरुन्तै काठमाडौं फर्किन्छु,’ परियारले भने । प्रदेश २ मा प्रमुख फेरिएको यो दोस्रोपटक हो । रत्नेश्वरलाल कायस्थलाई हटाएर सरकारले परियारलाई नियुक्त गरेको थियो ।
प्रदेश २ प्रमुखबाट परियारलाई संघीय सरकारले पदमुक्त गर्नुमा जनकपुरका राजनीतिकर्मीबीच दुईवटा कारणमा अड्कलबाजी छ । पहिलो– प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नु, दोस्रो– परियारका स्वकीय सचिव अनिल पासवान र नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईबीच फोनमा भएको गालीगलौज ।
प्रदेश प्रमुखको सचिवालयले भने यी दुवै अड्कलबाजी बेठीक रहेको जनाएको छ । ‘धेरै जनाले पासवान र भट्टराईबीचको फोन संवादलाई लिएर मसँग पनि जिज्ञासा राखेका छन्,’ परियारका प्रमुख स्वकीय सचिव विश्वकर्माले भने, ‘यो सानो वादविवाद हो । पदमुक्त गरिनुको यो कारण होइन ।’ जयनगर–जनकपुर रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने ? प्रदेश प्रमुखले बुझ्न खोजेको भन्दै गत साता पासवानले भट्टराईलाई फोन गरेका थिए । ‘केन्द्रीय सरकार’ मातहत रहेकाले प्रदेशलाई जानकारी नदिने भन्दै भट्टराई तर्किन खोजेपछि उनीहरूबीच अश्लील गालीगलौज भएको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । ‘ओलीको छोरा हुँ अपहरण पनि गराइदिन सक्छु’ भन्दै भट्टराईले पासवानलाई धम्क्याएपछि दुवैको भनाभनमा शीर्ष नेताको नामै लिएर राजनीतिक आक्षेप एक–अर्कालाई लगाएका थिए ।
गत माघ २८ मा प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन
र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भने कर्मचारी असन्तुष्ट थिए । यो कुरा परियारले पनि स्विकारे ।
‘विधेयक अहिल्यै ल्याउनुहुन्न । अझै होमवर्क गरौं भन्ने कुरा कर्मचारीबाट आएको हो,’ परियारले कान्तिपुरसँग भने, ‘प्रदेशसभाले पास गरेको विधेयक प्रक्रियाबाट आएपछि मैले रोक्न मिल्दैन । त्यसैले प्रमाणीकरण गरिदिएँ ।’ परियारले राजनीतिक प्रतिशोधका कारण आफूलाई पदमुक्त गरिएकाले काठमाडौं फर्किएर सर्वोच्च अदालतमा कानुनी अपिल गर्ने बताए । उनले कानुनी व्यवस्था केही छ भने पदमुक्तको मामिलामा सर्वोच्चमा अपिल गर्ने सोचमा रहेको खुलाए । ‘पदमुक्त गर्लान् भन्ने कुनै शंका गरेको थिइनँ,’ उनले भने, ‘पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट इमेल आएपछि झसंग भएँ ।’

Page 3
समाचार

आयोगले देखिने गरी काम गरेन : ओली

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित समारोह सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायहरूले निर्वाचनको तयारी समयमा गर्नुपर्छ । मैले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि पुस ६ मा निर्वाचन आयोगलाई बोलाएर अब निर्वाचनको तयारी गर्नुस् भनेको छु ।’
आयोगमा पुगेरै पनि निर्वाचन तयारीबारे सोधपुछ गरेको उनले बताए । ‘तयारी भइरहेको छ भन्नुभयो तर जनताले निर्वाचन आयोगको तयारीबारे त्यति थाहा पाउन सकेका छैनन्,’ उनले भने, ‘जनताले थाहा पाउने गरी, समयमै निर्वाचन गराउने गरी जुट्नुपर्छ । कतिपय तत्त्वहरूले यो घोषणा भएको निर्वाचन निर्वाचन नै होइन भन्ने आरोप लगाएका छन् तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि मिति घोषणा गरिएको हो ।’ उनले चुनावविरुद्ध कुनै प्रकारको षड्यन्त्र हुन नहुनेसमेत उल्लेख गरे ।
सहिदको बलिदानबाट प्राप्त लोकतन्त्रलाई तल पर्न नदिने उनले बताए । लोकतन्त्रमा जनता सार्वभौम सत्ता सम्पन्न हुने उनले उल्लेख गरे । ‘देशलाई आजको समयमा जनताको चेतनाले पछाडि फर्किन दिँदैन, त्यस कारण जनताको साथ लिएर अगाडि बढ्छु,’ उनले भने । प्रधानमन्त्री ओलीले अग्रगामी भिजनका साथ चलेको सरकारलाई परापूर्व कालका अनुभवलाई लिएर चक्रव्यूहमा पार्न खोजेको बताए । ‘तर चक्रव्युह गठन गर्दागर्दै अन्तिम तयारीको केही मिनेटअघि प्रतिनिधिसभा विघटन भयो,’ प्रज्ञा भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘पार्टी फुटाउने चक्रव्यूह थियो । बहुमतको पार्टी फुटाउने, स्थिरता र स्थायित्व भत्काउने अनि अस्थिरता निम्त्याउने चक्रव्यूह थियो । प्रजातन्त्र दिवसको अवसरमै टुँडिखेलमा आयोजित समारोहमा ओलीले सरकारले संविधान नमिच्ने र मिच्न पनि नदिने दाबी गरे । उनले सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने तथा सुशासन कायम गर्नेसमेत बताए ।
जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायःले सरकारले अस्थिरता खोज्ने प्रयासलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको उनले तर्क गरे । ‘लोकतन्त्रलाई बिनाव्यवधान र बिनाविकृति अगाडि बढाउन लोकतन्त्रभित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयास हुन नपाऊन्, लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सकून् भनेर अहिले मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरूलाई आग्रहसमेत गरे । ‘कुनै पनि हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहींबाट पनि हुनुहुँदैन । निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनुपर्छ । देशलाई अस्थिरताबाट जोगाउने र स्वस्थ जनअभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हो ।’ उनले सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न र स्वार्थमा एकताबद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षलाई आग्रह गरे ।
पूर्वाधार र विकासका क्षेत्रमा भएका कामबाट देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको दाबी प्रधानमन्त्री ओलीले गरे । ‘यसबीचमा हामीले पूर्वाधार, विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धि असाधारण छन्,’ उनले भने ।

समाचार

'समयमै निर्वाचन गराउन तयार’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– निर्वाचन आयोगले शुक्रबार पाँचौं निर्वाचन दिवस मनाएको छ । २०१५ सालमा पहिलोपटक मतदान भएको दिनलाई आयोगले निर्वाचन दिवसका रूपमा मनाउन थालेको हो ।
‘निर्वाचनमा सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ यो वर्षको दिवस मनाइएको आयोगले जनाएको छ । आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोगको अर्जुनदृष्टि लिएर काम गरिरहेको बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन आयोग प्राविधिक र व्यवस्थापकीय दृष्टिकोणले सक्षम रहेको उल्लेख गरे । इतिहासको विरासत र साखलाई खुम्चन नदिई आयोगले उत्कृष्ट निर्वाचन व्यवस्थापन गर्ने विश्वास उनले व्यक्त गरे । निर्वाचनका लागि आयोग तयार रहेकाले राजनीतिक दलहरूले निर्वाचनको उपयुक्त वातावरण बनाउनुपर्ने उनले बताए ।

समाचार

न्यायाधीश र निर्वाचन आयुक्तलाई 'विशेष सुरक्षा’

आवागमन क्षेत्रमा प्रहरी पहरा बढाइयो
- मातृका दाहाल

 

(काठमाडौं) - सरकारले सर्वोच्च अदालतका न्यायाधीश र निर्वाचन आयोगका पदाधिकारीलाई विशेष सुरक्षा व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सर्वोच्च अदालतका न्यायाधीशका कामकारबाहीमा दबाब र असर पुग्ने गरी सडकमा प्रदर्शन हुन थालेपछि नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता बढाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पछिल्ला विकसित घटनाक्रम र सडकमा देखिएका पक्ष/विपक्षका गतिविधिबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यानमा राखेर संवैधानिक निकायका पदाधिकारीको सुरक्षामा पनि विशेष सतर्कता अपनाइएको बताए । खासगरी निर्वाचन आयोग र सम्मानित अदालतका न्यायाधीशहरूको सुरक्षामा अलि बढी सावधानी र सतर्कता अपनाइएको उनले जनाए ।
निर्वाचन आयोगको अनुरोधमा प्रमुख आयुक्त र आयुक्तहरूलाई नियमितबाहेक नेपाल प्रहरीबाट अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । जिल्ला निर्वाचन कार्यालय र निर्वाचन केन्द्रित कार्यक्रमको सुरक्षामा पनि सोहीअनुसार विशेष प्रबन्ध मिलाउन गृहले निर्देशन दिएको छ । त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटपछि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूको आवागमनमा पनि प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ ।
२०७७ पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ का लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् । सभा विघटन असंवैधानिक भन्दै रिट दायर भएपछि पुस १० गते प्रधानन्यायाधीशसहितको ५ सदस्यीय संवैधानिक इजलास गठन भएको थियो । सभा विघटनको पक्ष र विपक्षमा भएका बहस शुक्रबार मात्रै सकिएको छ । सुरुको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा चार जना न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, अनिल सिन्हा र तेजबहादुर केसी थिए । पुस २२ गते न्यायाधीश कार्कीमाथि सभा विघटनविरुद्ध परेको रिटको पक्षमा बहस गरेका कानुन व्यवसायीले प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए । त्यसपछि पुस २९ गते प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई ल्याएका थिए ।
उता सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमै संवैधानिक परिषद् बैठक बसेर पुस ३० गते अख्तियार र निर्वाचनलगायत संवैधानिक आयोगका प्रमुख र सदस्यहरूका लागि भएको सिफारिसअनुसार माघ २१ मा पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख सापकोटा सहभागी भएका थिएनन् ।
प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मिति घोषणापछि आयोगले निर्वाचन तयारी थालिसकेको छ । आचारसंहिता निर्माणदेखि मतदान स्थल र मतदान केन्द्रको पनि टुंगो आयोगले लगाइसकेको छ । तर, सभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले निर्वाचन तयारी निरर्थक भएको दाबी गरिरहेको छ । त्यही क्रममा दाहाल–नेपाल समूह र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारूढ नेकपाबीच पार्टीको आधिकारिकता र चुनाव चिह्न विवाद आयोगमै पुगेर रोकिएको छ । दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आएका छन् । यहीबीच माघ २१ गते आयोगमा दुई निर्वाचन आयुक्त थपिए । नेकपाका दुवै पक्षले आयोगबाट आफूले आधिकारिकता पाउने दाबी र सडक प्रदर्शन गरिरहेका बेला सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर आयुक्तको नियमितबाहेक अतिरिक्त सुरक्षा प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले सदर वा बदर जे गरे पनि परिस्थिति असामान्य बन्न सक्ने र त्यसबेला निर्णय गर्नेमाथि हुने जोखिमको आकलन गरेर बेलैमा आवश्यक प्रबन्ध मिलाउनुपरेको प्रहरीका एक अधिकारीले बताए । ‘पार्टीका शीर्ष नेताहरूले नै न्यायाधीश र निर्वाचन आयोगका पदाधिकारीलाई यसो गर, उसो गर भन्दै सडकबाट दबाब दिइरहनुभएको छ, यसले आफ्नो पक्षमा निर्णय भएन भने हामी चुप लाग्दैनौं भन्ने मनोवैज्ञानिक त्रास र भय सिर्जना गरेको छ, यस्तो माहोलमा निर्वाचन र न्यायिक प्रक्रियामा सहभागीलाई मनोवैज्ञानिक सुरक्षा थ्रेट बढ्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘त्यसलाई मध्यनजर गरेर गृहबाट पनि आवश्यक निर्देशन आएबमोजिम हामीले सोहीअनुसार व्यवस्था मिलाएका छौं ।’
केही दिनअघि मात्रै जिल्ला सुरक्षा समिति काठमाडौंले न्यायाधीश र निर्वाचन आयुक्तको सुरक्षाबारे आन्तरिक समीक्षा गरेको थियो । बैठकको निर्णयअनुसार नै प्रहरीले आयुक्त र न्यायाधीशको आवागमनमा थ्रेटअनुसार एस्कर्टिङ र निगरानीमा विशेष ध्यान दिन निर्देशन दिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले बदलिँदो परिस्थितिअनुसार सुरक्षा व्यवस्थापनमा प्रबन्ध मिलाइएको बताए । सडकमा देखिएका पक्ष/विपक्षका कार्यक्रमलाई ध्यानमा राख्दै त्यसबाट निम्तिने चुनौती सामना गर्ने गरी सुरक्षा रणनीतिमा पनि समीक्षा र हेरफेर गरिँदै आएको उनले जनाए । ‘संवैधानिक निकायका बहालवाला पदाधिकारी र सदस्यलाई नियमित रूपमै बडीगार्डसहितका सुरक्षा प्रबन्ध गरिएको हुन्छ, त्यसबाट अपुग भएमा नियमित रूपमा थपघट वा हेरफेर हुन्छ, यसलाई अन्यथा लिनु हुँदैन,’ प्रजिअ पराजुलीले कान्तिपुरसँग भने ।
पछिल्लो समय मन्त्रिपरिषद्बाट संशोधित भीभीआईपी तथा भीआईपी सुरक्षासम्बन्धी कार्यविधिमा पूर्वपदाधिकारीको सुरक्षासमेत भारी मात्रामा कटौती गरिएको छ । त्यसप्रति राजनीतिक दलका नेतादेखि पूर्वप्रधानमन्त्री र पूर्वराजाका तर्फबाट पनि असन्तुष्टि बढेको छ ।

समाचार

अस्ताए मित्रसेन

- कान्तिपुर संवाददाता

(काठमाडौं) - बिहान ९ बजे घरमा गाडी तयार थियो । कोट लगाएर आउँछु भनेर उनी भित्र पसे । तल झर्दा सवा ९ भएको थियो । एकाएक रिंगटा लाग्यो भने । गाडीमा चढ्न नभ्याउँदै उनी भुइँमा ढले । कपनस्थित घरबाट तीन जनाले हतार–हतार उनलाई ओम अस्पताल पुर्‍याए तर उनी
फेरि उठेनन् ।
ओखलढुंगामा जन्मेका ५८ वर्षीय मित्रसेन दाहाल तिनै व्यक्ति हुन्, जसले काठमाडौंदेखि २३ किमिपूर्व शंखरापुर नगरपालिका–४ स्थित लप्सीफेदीमा भव्य मैत्री सेवा आश्रम बनाइरहेका थिए । राजनीतिलाई समाज सेवासँग जोड्ने बिरलै नेतामा उनी पर्छन् । राजनीतिमा उनी बाल्यकालदेखि नै लागे । खासगरी कांग्रेसले घोषणा गरेको २०४२ सालको सत्याग्रह आन्दोलनताका पञ्चायती शासकले उनलाई जिल्लामा टिकिबस्न दिएनन् । उनी आफ्नो थातथलो छाडेर काठमाडौं आए । सत्याग्रहका बेला तीन महिना जेलसमेत बसे । राजनीतिमा उनी धेरै सफल हुन सकेनन् । ओखलढुंगा कांग्रेसको जिल्ला सचिव र २०७४ को निर्वाचनमा कांग्रेसबाट प्रदेश ‘क’ को उम्मेदवार भए । सांसद बन्न नसकेकामा उनलाई कुनै पछुतो थिएन, बरु मानव सेवा आश्रमलाई देशकै नमुना बनाउने उनको चिन्ता भने सदावहार थियो ।
उनले बिहीबार मात्रै जेपी प्रतिष्ठानकी आजीवन सदस्य धनदेवी भण्डारीले आश्रम निर्माणका लागि दुई लाख सहयोग गरेकामा लामो पृष्ठभूमिसहित बधाई दिएको स्टाटस फेसबुकमा राखेका थिए । शनिबारै उनले आश्रममा बैठकसमेत राखेका थिए । भाइ नाताका लेखनाथ दाहालका अनुसार उनले गंगालालमा मुटुको परीक्षण गरेर शुक्रबारै आश्रम जाने बताएका थिए । ‘तिमीहरू
भोलि बिहान खाना उहीं खाने गरी आओ, म आजै जान्छु भन्नुभएको थियो,’ उनले भने, ‘थप ४६ वटा कोठा बनाउनेबारे छलफल गर्न बैठक बोलाउनुभएको थियो ।’
४२ रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा अहिलेसम्म साना–ठूला गरी ३५ वटा भवन बनिसकेका छन्, जसमा ६० जना बढी वृद्धवृद्धा बस्छन् । पूर्ण क्षमतामा चल्दा आश्रममा डेढ सय ज्येष्ठ सदस्य राख्न सकिन्छ । काठमाडौंको धूलोमैलोबाट अलि टाढा रमणीय वातावरणमा बनेको आश्रम सुविधासम्पन्न छ । त्यहाँ बस्ने वृद्धवृद्धाले आश्रममै उत्पादन गरेको अर्गानिक तरकारी खान पाउँछन् ।
गाईको दूध खुवाउन गाई फार्म छ । शुल्क तिरेर आश्रममा बस्न सकिन्छ । बाँचुन्जेल बस्छु भन्ने कतिले एक बेड रुमको ‘ब्लक’ किनेर बस्ने गरेका छन् । एक बेड रुम, किचन, बैठक हल र भित्रै शौचालय भएको ब्लक छ । थोरै शुल्कमा मासिक भाडा तिरेर बस्छु भन्नेले पनि बस्न पाउँछन् । आश्रमको कोषमा एकमुष्ट रकम राखेर त्यसैको ब्याजमा बाँचुन्जेल बस्न पाउने सुविधा पनि छ । ‘पछिल्लोपटक उहाँले असहाय र दीनदुःखीहरूलाई सित्तैमा राख्नका लागि सरकारसँग हारगुहारसमेत गरिराख्नुभएको थियो, आश्रममा चिकित्सकीय सुविधा दिन अस्पताल बनाउने उहाँको
सपना थियो,’ भाइ लेखनाथले भने, ‘त्यसका लागि दाता खोज्ने र सरकारसँग आग्रह गर्ने काम भइरहेको थियो ।’
जीवनमा उनी नजोडिएका क्षेत्र कमै छन् । जिल्लाबाट काठमाडौं हान्निएपछि उनले विज्ञापन एजेन्सी चलाउन सुरु गरे । २०४७ सालमा आयाम विज्ञापन सेवा दर्ता गरेर उनले एजेन्सी चलाएका थिए । त्यतिबेला धेरै एजेन्सी थिएनन् । उनी सबैभन्दा बढी विज्ञापन प्रिन्टमा दिन्थे । गोरखापत्रले उनलाई सम्मानसमेत गरेको थियो । २०५७ सालमा उनले आयाम विज्ञापन सेवालाई नेपाल प्रिन्टर्स एन्ड ट्रेडर्स सहकारी लिमिटेडमा बदले । एजेन्सीबाट निजी लाभ प्राप्त गर्दै आएका उनले त्यसपछि भने अरू सदस्यलाई पनि जोडे । मुलुकभर कार्यक्षेत्र रहने गरी स्थापना भएको सहकारीका माध्यमबाट एजेन्सी चलाए । एजेन्सीबाट प्राप्त लाभ सहकारीमा जोडिएका सबैलाई मिल्न थाल्यो । अहिले पनि सहकारी चलिरहेको छ । २०५१ सालमा राष्ट्रियस्तरको प्रतिष्ठान बनाउने अठोट लिए । सुरुमा स्कुल नजाने बालबालिकालाई पढाउने अभियान प्रतिष्ठानबाट थाले ।
२०५१ देखि २०६७ सालसम्म दूरदराजमा पुगेर दलित, उत्पीडित र विपन्नका छोराछोरीलाई वार्षिक १ हजार ५ सय छात्रवृत्ति दिएर पढाउने अभियान थाले । १० जनालाई आफैंले छात्रवृत्ति दिएर पढाए । एक हजार जनाभन्दा बढीलाई अन्य दाताको सहयोगमा स्कुलमा पढाउन थाले । २०६४ सालमा किड्नी प्रत्यारोपण गरेपछि उनी आफ्नो जीवनलाई ‘बोनस लाइफ’ भन्थे । त्यसपछि मैत्री सेवा आश्रमका माध्यमबाट समाज सेवामा आफूलाई समर्पण गर्ने अठोट गरेका थिए । समाज सेवाका लागि २०६८ साल वैशाखमा उनले पशुपतिमा संकल्प महायज्ञ लगाए । त्यसैमा ५५ लाख ५५ हजार रुपैयाँ बराबरको जग्गा दान गरे । त्यसबाहेक करिब २ करोड रुपैयाँ महायज्ञमा संकलन भयो । राज्यबाट १३ करोड रुपैयाँ प्राप्त भयो । आश्रमका ४९ सदस्यमध्ये २८ जनाले एक/एक लाख सहयोग हाले । त्यसबाट जग्गा किन्ने, भवन बनाउने काम भयो ।
उनको सपना अस्पतालसहितको संरचना विस्तार गर्ने थियो । आश्रम चलाउन राज्यबाट हारगुहार गरी गरिब र दीनदुःखीहरूका लागि निःशुल्क राख्ने सपनासमेत थियो । तीन वर्षअघि उनी मुटु रोगले पनि थलिएका थिए । त्यसैले ६/६ महिनामा नियमित मुटु परीक्षण गर्थे । नियमित परीक्षणका लागि बिहान सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी जाने तयारीमा थिए । ड्राइभरलाई गाडी रेडी बनाउनु भनेर तल झरेका उनी हृदयाघातकै कारण कहिल्यै नउठ्ने गरी अस्ताए । उनका श्रीमती, जुम्ल्याहा छोराछोरी छन् ।

 

Page 4
समाचार

बीपी ट्रस्टद्वारा २ जना पुरस्कृत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बीपी कोइराला स्मृति ट्रस्टले शुक्रबार दुई सर्जकलाई पुरस्कृत गरेको छ । साहित्यकार ज्ञानमणि नेपाल र राजनीतिकर्मी होमनाथ दाहाललाई सम्मानित गरेको हो । ट्रस्टले २०७१ देखि साहित्य र प्रजातान्त्रिक आन्दोलनका सेनानी गरी २ विधामा पुरस्कृत गर्दै आएको छ । पुरस्कारको राशि साहित्यतर्फ १ लाख १ हजार रुपैयाँ छ भने र प्रजातान्त्रिक सेनानी सम्मान ५१ हजार रुपैयाँ राशिको छ । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाल र दाहाललाई पुरस्कृत गर्दै बीपी र २००७ को ऐतिहासिक दिनको तुलना गरेका थिए । बीपीको मेलमिलापको नीतिलाई छाड्दा नै राज्य प्रणालीले स्थायित्व लिन नसकेको उनले बताए ।

समाचार

'राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण’

- कान्तिपुर संवाददाता


धनुषा (कास)– पूर्वराष्ट्रपति रामवरण यादवले संविधान रक्षा गर्नुपर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका छन् । बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई आन्तरिक विवाद समाधान गर्न सल्लाह दिनुपर्नेमा राष्ट्रपतिले हतारमा प्रतिनिधिसभा विघटन गरेको उनको टिप्पणी थियो । ‘संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपर्थ्यो,’ जनकपुरमा शुक्रबार ‘समाजवाद र बीपी कोइराला’ पुस्तक विमोचन गर्दै उनले भने, ‘राष्ट्रपतिले कुलिङ पिरियड लिएर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गर्नुभयो ।’
पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता उन्मादमा संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरेको बताए । ओलीले संवैधानिक निकाय र प्रशासन कब्जामा लिएको उनको आरोप थियो । ‘प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ,’ उनले भने ।

समाचार

अविश्वास प्रस्ताव पास हुन्छ : पौडेल

- कान्तिपुर संवाददाता


मोरङ (कास)– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ र वाग्मती प्रदेशमा नेकपा दाहाल–नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्ताव पारित गराइदिने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा उनले सत्तापक्षको विपक्षमा बस्ने प्रमुख प्रतिपक्षको धर्म भएकाले अविश्वास प्रस्तावलाई कांग्रेसले समर्थन गर्ने जनाए ।
पार्टी सभापति शेरबहादुर देउवाले रोकेर पनि प्रदेशसभा सदस्यहरूले नमान्ने उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई नै काँध हाल्ने प्रस्ताव देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ल्याउन नसक्ने उनले दाबी गरे । सर्वोच्च अदालतले संसद् पुनःस्थापना नगरे मुलुक ठूलो विग्रहमा फस्ने उनको भनाइ थियो ।

ॅप्रदेश सरकारमा जाँदैनौं’
पूर्वी नवलपरासी– कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रदेश १ र वाग्मती सरकार ढाल्न सहयोग गरे पनि नयाँ सरकारमा सहभागी नहुने बताएका छन् । प्रेस युनियनले कावासोतीमा शुक्रबार गरेको एक कार्यक्रममा
उनले कम्युनिस्टसँग गठबन्धन
बनाएर कांग्रेस सरकारमा सामेल नहुने स्पष्ट पारे ।
आगामी निर्वाचनमा नेकपा ओली समूहसँग कांग्रेसको प्रतिस्पर्धा हुने उनले दाबी गरे ।

Page 5
शनिबार विशेष

भू–संवाद : झोलेको टार, गण्डकीको किनार

जतिबेला मानिससँग आफ्ना पाइला मात्रै थिए, हिँडेर पूरै पृथ्वी नाप्न सम्भव थिएन । त्यसैले अनेक अनुमान गरिन्थे र धेरै गलत नक्सा लेखिन्थे ।
- रमेश भुसाल

 

 

पारि गोर्खे दर्बुंङको फाँट, वारि धादिङे माझीटार । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट हुँदै त्रिशूली तरेर सिउरेनीटारबाट बूढीगण्डकीको किनारैकिनार दस किलोमिटरजति उत्तर हानिएपछि दाहिने फर्केर गण्डकी पारि हेर्दा ४८ हेक्टरको कुलो लाग्ने लोभलाग्दो माझीटारको फाँट देखिन्छ । यसैको उत्तरी कुनोबाट उचालिएको पहाडको फेदतिर गाडिएको मेरो टेन्टमा तप्–तप्–तप् शीत झरिरहेछ । शीत झर्छ थाहा थियो, तर शीत बर्सिन्छ, त्यो हेक्का राखेको रहेनछु । पुसको महिना गण्डकीको किनार र बर्सिएको शीत । जमिनको ओछ्यान, कपडाको छानो । चकमन्न रातमा म प्रत्येक शीतको थोपा गनिरहेछु र शीतले सायद मेरो धड्कन । कहिलेकाहीँ शीतसँग संवाद गर्न खुब मजा हुन्छ !
दिउँसो टीकाराम कुमालले गण्डकीको दाहिने किनारमा उभिएको बडेमानको ढुंगो देखाउँदै भनेका थिए— हाम्रा बाउबाजेले गण्डकी तार्दा डुंगा बाँध्ने दुलो बनाएका रे ! त्यो दुलोबाट हेर्दा माझीटारका दुःखी माझी कुमालहरूको कथा देखिन्छ, हेर्न–बुझ्न सक्ने मन भए । जसले सबैभन्दा बढी गुण लगाए, तिनै अहिले सबैभन्दा तिरस्कृत छन् । हँसिया, फाली बनाउने कामी हुन् वा चिटिक्क पार्ने र लाज छोप्ने लुगा सिउने दमाई, छालाका नारा बनाउने सार्की हुन् वा घाट तार्ने माझी सबै अहिले तिरस्कृत । त्यही हलोले जोताउनेहरू जमिनदार भए, धनी भए, शासक भए । त्यही कपडा लगाउनेहरूले देश–दुनियाँ हाँके, तर जसले जिन्दगी सजिलो पारिदियो तिनै सबैभन्दा बढी तिरस्कृत अनि बहिष्कृत, सबैभन्दा गरिब । त्यसैको ‘पाप’ लागेको पो हो कि यो देशलाई ! गण्डकी तीरमा मनमा अनेक तर्कना आउँछ ।
मेरो शरीर मडारिइरहेको यो जमिनबाट सय मिटरजति पर झोले अर्थात् राजु माझीको झुप्रो छ । झोले आजै भेट भएको साथी हो । उनैले मारेका दुइटा गर्दी माछाले शीतको आवाज सुन्न सक्ने बनाएका छन्, चिसो थेग्ने आँट दिएका छन् । सुत्नुअघिको झोल–गफमा झोलेले माझीको कथा हाले । यो गण्डकीमा माझीहरूले घाट चलाउँथे । एक दिन माझीहरूले धेरै दुःख पाए भन्ने लागेर भगवान्ले केहीबेर नदीमा सुन बगाइदिएछन्, तर माझीहरूले त हतार–हतारमा जाल पो थापेछन्, कताको सुन अड्किनु ! तर, कुमालहरू भने अलि बाठा रै’छन् । उनीहरूले टाउकोबाट टोपी झिकेर थापेछन् । अलिअलि भए पनि सुन पाएछन् । ‘त्यसैले माझी सधैँ गरिब भएका रे । माझीभन्दा कुमाल बाठो अनि अलि धनी भएको रे भन्थे हाम्रा बाउबाजेले । होजस्तो लाग्छ मलाई त ! नपत्याए भोलि बिहान हेर्नुहोला माझीले सुन लगाएको तपाईंले देख्नुहुन्न यहाँ, कुमालले भने अलिअलि लगाउँछन्,’ झोलेले सुनाए ।
एक बोतल कोदोको झोल रित्याएपछि झोलेले साहस बटुले र भने, ‘त्यो गण्डकीले बगाएर ल्याएको मुढो बेच्न दिस्यो । त्यही पैसाले म इन्डिया जान्छु । केट्केटी पाल्न पर्‍यो नि ! यहाँ केही पाइने होइन । अब त कोरोना पनि घट्यो ।’ सुरेशजंग शाह पनि आजै भेटिएका साथी हुन् । उनी यहाँका ‘बाउसाब’ रहेछन् । खुकुरी रम चुस्की लगाइरहेका उनले भने, ‘नकरा अहिले । पछि कुरो गरौंला । यसलाई लाग्यो अब ।’
‘के–को लाग्ने ? साँच्चै भनेको,’ झोले अलि झोक्किए ।
‘ल ल पछि कुरा गरौंला’ भनेर बाउसाबले टारे ।
शाह छेउको पशुपति सामुदायिक वनका अध्यक्ष रहेछन्, त्यसैले उनको अनुमतिबिना नदीले बगाएर ल्याएको मुढो पनि बेच्न नपाउने भए झोलेले । ‘साँच्चै भनेको है मिलाइदिस्योस्,’ झोलेले फेरि दोहोर्‍याए ।
झोलेको यो फाँटमा अबका केही वर्षपछि माछाहरू पौडिरहेका हुनेछन् सायद । उनको भत्किएको घरको थुप्रामा ताल बन्ला, माछाले फुल पार्लान्, त्यो बेलासम्मै रहे भने । नदी किनारबाट दुई सय मिटर माथि आकाशैसम्म पानीको ताल हुनेछ । पन्ध्रवटा फेवातालजत्रो त एउटै ताल बन्नेछ, देशै झिलीमिली पारिनेछ । त्यो तालले जमाएको पानी पृथ्वी राजमार्गको दुई किलोमिटर उत्तरमा बनाइने २६३ मिटर अग्लो बाँधले रोकेर राख्नेछ र टर्वाइनमा बझार्नेछ, त्यसपछि बिजुली सररर । यस्तो कहिएको छ अहिले । तर, त्यो ‘केही वर्ष’ कहिले आउँछ थाहा छैन । यही बाहनामा झोलेको जग्गा भने सरकारले आफ्नो बनाइसकेको छ । झोलेले भनेको मूल्यमा होइन, सरकारले तोकेको मूल्यमा । झोले अहिले आफ्नै घरमा बेघर छन् । आफ्नै जग्गामा सुकुम्बासी छन् ।
हामी उकालो लाग्छौं, लगभग आधा घण्टा । मैले बोकेको एक पाउको जीपीएस नामको डल्लोले पृथ्वी फन्को मारिरहेका भू–उपग्रहहरूलाई सोध्छ र कहन्छ । ४४८ मिटर अर्थात् माझीटारबाट दुई सय मिटरमाथि सिमेन्टको मार्का हानिएको ठाउँ, जहाँसम्म जलविद्युत्को तालले डुबान गर्नेछ । यो जीपीएस अर्थात् ग्लोबल पोसिजसनिङ सिस्टम त पृथ्वी मापन यात्राको पछिल्लो पुस्ता हो । जीपीएसले निरन्तर मेरो पाइला–पाइला गनिरहेछ, बाटो नापिरहेछ, उचाइ भनिरहेछ ।
आज मानिसले पृथ्वीको इन्च–इन्च नापेको छ । यो पृथ्वी नाप्ने काम हजारौं वर्षअघिदेखि हुँदै आएको हो । तर, आजजस्तो फ्याट्ट मोबाइल वा कम्युटर हेरेर सानो पृथ्वी घुमाउने दिन आउनुअघि विश्व–नक्सा इतिहासमा अनेकन् कुरा भएका थिए । कुनै युग थियो, जतिबेला मानिससँग आफ्ना पाइला मात्रै थिए । पाइला हिँडेर पृथ्वी पूरै नाप्न सम्भव थिएन । सुरु–सुरुमा जति सक्यो नाप्यो नसकेको कल्पना गरेर कोर्‍यो । त्यसैले अनेकन् अनुमानहरू गरिन्थे र धेरै गलत नक्साहरू पनि बनाइए । पृथ्वी गोलो छ कि चेप्टो भन्ने बहस हजारौं वर्ष चल्यो । केही सय वर्षअघिसम्म पनि व्यापक थियो । मत–मतान्तर थिए । पूरै पृथ्वी कस्तो छ भन्ने मानिसलाई थाहा थिएन नै, कत्रो छ भन्ने त थाहा हुने कुरै भएन । न त उसले पूरै पृथ्वी घुमेको थियो न त माथि उडेर यसको आकार
खुट्याउन सक्ने भएको थियो ।
यसपटक म जेरी ब्रोटनले लेखेको ‘अ हिस्ट्री अफ द वर्ल्ड इन टुएल्भ म्याप्स’ अर्थात् १२ नक्सामा पृथ्वीको इतिहास नामक किताब बोकेर गण्डकीको किनारै–किनार हानिएको छु । ब्रटन भन्छन्, ‘विगतका दुई हजार वर्षमा बनेका १२ वटा नक्साले पृथ्वी मापनका कथा बताउँछन् ।’ अब जेरीको इतिहासतिर लागौं । मानिसले इसापूर्व ३५ देखि २५ हजार वर्षअघिदेखि बनाएका केही संकेत ढुंगा–माटोमा कुँदिएका भेटिन्छन्, तर पूरै पृथ्वीलाई नक्साको रूपमा ढालेको कथा भने २५०० वर्ष पुरानो हो । मानिस मात्रै होइन अन्य जनावरले पनि आफ्नो क्षेत्र निर्धारण गर्छन् वा दूरी नाप्छन् । जस्तो कि बाघले मुतेर आफ्नो क्षेत्र निर्धारण गर्छ भने माहुरीहरूले मह बनाउन चाहिने फूलको रस पाइने ठाउँको दूरी र दिशा नाचेर निर्धारण गर्छन् । तर, मान्छेले भने नक्सालाई उतारेर पछि त्यसैलाई हेर्दै कतै युद्ध गर्छ त कतै जमिन कब्जा गर्छ । कहिले भने त्यसैलाई प्रयोग गरेर घुम्छ, जहाज उडाउँछ, रेल–गाडी गुडाउँछ । आज त नक्सा यस्तो विषय हो, जो सबैभन्दा बढी संवेदनशील छ । हाम्रैमा हेर्नुस् कालापानी विवादमा चुच्चे र बुच्चे नक्साले कस्तो तहल्का मच्चाइरहेको छ । एक–एक इन्चको हिसाब हुन्छ अहिले ।
मानिसले पृथ्वीको पहिलो नक्सा कहिले बनायो ? अहिले ब्रिटिस म्युजियममा एउटा नक्सा छ– द बेबीलोनियन् म्याप अफ द वर्ल्ड अर्थात् पृथ्वीको पहिलो नक्सा । त्यो नक्सा कागजमा होइन माटोमा कोरिएको छ । सन् १८८१ मा इराकमा जन्मिएका पुरातत्त्वविद् हर्मुद रासमले इराकको अहिलेको बग्दादमा पर्ने तेल अबु हबाह भन्ने ठाउँमा उत्खनन गर्दा माटोको चक्कीमा एउटा गोलाकारमाथि अलि ठूलो अर्को गोलाकार अनि त्यसको वरिपरि उत्रै ८ वटा त्रिभुज आकार बनाइएको भेटे । त्यसमा युफ्रेट्स् नदी देखाइएको छ भने बीचमा बेबिलोन सहर अंकित गरिएको छ । त्यसैको वरिपरि चार सहर छन् । बाहिरी गोलाकार, जो सागर हो त्यसको बाहिर केही जनावरहरू र लामो दूरी इंगित गरिएको छ । ‘१२ बाई ८ सेन्टिमिटरको त्यो माटोको चक्कीले मानिसले २५०० सय वर्षअघि कल्पेको पृथ्वी मात्रै होइन ब्रह्माण्ड पनि उतारेको नक्सा नै अहिलेसम्म थाहा लागेको पृथ्वीको सबैभन्दा पुरानो नक्सा हो,’ जेरी भन्छन् ।
अरू थप इतिहासका कुरा गर्दै–गरौंला, तर अहिले अगाडि बढौं । हामी माझीटारबाट उत्तर मजुवाटार, बुङकोटघाट, चैनपुर हुँदै धादिङको आँखुबेंसी झर्छौं गण्डकीलाई पछ्याउँदै । अलिकति उकालो लागेपछि बडेमानको लमतन्न परेर फिँजारिएको सल्यानटारमा पुग्दा रात झमक्कै पर्‍यो । सल्यानटारको फाँटमा मोबाइलको लाइट बालेर लाइन लागेर मानिसहरू पानीको भाँडा भर्दै छन् । यता मान्छे काकाकुल छन् उता फेरि संसारकै अग्लोमध्येको बाँध बाँधेर बिजुली निकाल्ने योजना छ । सानो कुरो गोर्खेले गर्दैन, ठूलो कुरा गर्न सक्दैन । संसारकै अग्लो हिमाल आफैंसँग छ तर गोर्खे घरी संसारकै अग्लो मूर्ति बनाउँछौं भन्छ त कहिले संसारकै ठूलो विमानस्थल । गड्गडाउँदा नदी, तिर्खाएका मान्छे ! हामी हिमालमा मात्रै होइन, गफमा पनि अग्ला छौं । अँ ! जेरीको इतिहासलाई पनि यात्रासँगै अगाडि बढाऔँ है !
दोस्रो शताब्दीमा पृथ्वीको बलियो नक्सा ग्रीक खगोलशास्त्री टोलेमी अर्थात् क्लाउडियस टोलेमियसले लेखेका थिए । उनले पेपिरस नामको वनस्पतिबाट बनेको पेपिरस कागजमा लेखेको ‘जोग्राफिक हाइफेजेसिस्’ किताबमा युरोप, अफ्रिका र एसियाका ८००० विन्दुहरूको देशान्तर र अक्षांश अभिलेखीकरण गरिएको छ । उनको नक्सामा भूमध्यसागर, युरोप, उत्तर अफ्रिका, मध्यपूर्व र एसियाका केही भाग छन् । तर, अमेरिका, अस्ट्रेलिया, पूर्वी एसिया, दक्षिणी अफ्रिका भने छैनन्, जुन टोलेमीले कतै भेटेका थिएनन् किनभने उनले नक्सा देखेर वा घुमेर बनाएका थिएनन् । कतिपय पुराना सूचना र केही अनुमान मिसाएर उनले नक्सा बनाए । उनले हिन्द महासागरलाइ ठूलो तालको रूपमा चित्रित गरेका छन्, जसको तलपट्टिबाट अफ्रिकाको भूभाग मलेसिया प्रायद्वीप भेट्न पूर्वी एसिया पुगेको छ । देशान्तर र अक्षांश प्रयोग गरिएको यो सम्भवतः पृथ्वीको पहिलो नक्सा हो ।
दोस्रो दिन हामी सल्यानटार झरेर पुलबाट गण्डकी तरेर गोर्खाको आरुघाट बजारलाई एक झलक हेरेर उत्तर हानिन्छौं आर्खेततिर । यो बूढीगण्डकी जलविद्युत्का कारण बन्ने तालको पानी जम्ने अन्तिम बजार हो । अझै अगाडि बढ्दै गए लार्केपास पुगिन्छ, हिमाल कट्न सके तिब्बत । उत्तर दिशा आधुनिक नक्सामा वर्चस्व कामय गर्न सफल कसरी र किन भयो ? किन दक्षिणलाई केन्द्रमा राखेर नक्सा बनाइएन वा पूर्व पश्चिमलाई ? जेरी भन्छन्, ‘इसाईहरूले उत्तरलाई प्रधान मानेर नक्सा बनाउन थाले । मुसलमानहरूले दक्षिणलाई प्रधान मानेर नक्सा नबनाएका होइनन् तर पनि कालान्तरमा नक्सामा दिशाहरूको राजाचाहिँ उत्तर नै हुन पुग्यो । किनभने कुराको कुनै स्पष्ट व्याख्या भने छैन ।’
पश्चिमाहरूले मात्रै होइन चीनमा पनि सयौं वर्षअघि बनाइएका नक्सामा उत्तरलाई आधार मानिएको छ । जेरी थप्छन्, ‘चीनका शासकहरूले आफ्ना कामदार र जनतालाई उत्तरतिर पछाड पारेर आदेशहरू दिने गर्थे किनभने दक्षिणतिरबाट तातो हावा आउँथ्यो र घामको ताप । राजालाई देख्ने मानिसहरूले उनको पछाड उत्तरतर्फ देख्थे । चिनियाँ भाषामा यो पछाड भन्ने शब्द नै उत्तर भन्ने शब्दसँग मिल्दोजुल्दो छ ।’ खासमा उत्तर कुनै पनि धर्ममा शुभदिशा मानिँदैन । शुभको मामलामा पूर्वले जितेको छ । घाम उदाउने दिशा भएकाले त्यसो हुन गएको होला । तर, जब युरोप र मध्यपूर्व व्यापारको केन्द्र बन्दै गयो, पश्चिमाहरूले संसार चहार्न थाले । उत्तरलाई आधार मानेर बनाइएका नक्साहरूले थप वैधानिकता पायो । अहिले सामान्यतः नक्सा भन्नेबित्तिकै उत्तरलाई आधार बनाइन्छ ।
आर्खेत पुग्नुअघि शान्तिबजारको एउटा झुप्रोमा पूर्णबहादुर आलेमगर बस्छन् । भुइँचालोले ७२ सालमा घर ढलाएपछि उनले टिनले बारेर झुप्रो बनाएका छन् । ‘तीन आना जग्गा चार लाखमा किनेर यता सडकछेउतिर झरेको अहिले सरकारले दुई लाख पनि मुआब्जा दिएन । लालपुर्जा सरकारलाई बुझाइयो, अब कहिले आएर लखेट्ने हो,’ आलेले टाउको समाउँदै भने । गोरखाको धर्चे र धादिङको बसेरी नामका यमान पहाड आकाशै छोउँला जसरी उरालिएका छन्, त्यसैलाई काटेको छ बूढीगण्डकीले ।
कुनचाहिँ अग्लो होला त दाइ ?
‘खै कुन्नि । धर्चेबाट उडेको डाँफे सीधै बसेरी पुगेर बिसाउँछ, त्यसैले दुवै उत्रै हुन् भन्थे बाउबाजेले । आफूले नापेको छैन के जान्नु,’ उनले भने ।
यो नाप्ने विषय बडा जटिल थियो । पहिलो कुरा त गोलो पृथ्वीलाई च्याप्टो पारेर कागजमा उतार्नुपर्‍यो । अब नदेखेको पूरै पृथ्वीलाई कसरी उतार्ने ? उत्रिइहाल्यो भने समथर भूभाग त ठीकै छ तर उठेका पहाड/हिमाललाई कसरी नाप्ने ? यसरी उचाइ पनि नाप्ने कुरा त १५ शताब्दीमा आइपुग्दासमेत मानिसले जानिसकेको थिएन ।
अहिले अंग्रेजी म्याप अर्थात् ल्याटिन भाषामा ‘मापा’ को अर्थ टेबलपोस वा न्यापकिन हो । फ्रेन्च भाषामा भनिने ‘कार्टा’ पनि रुसी र इटालियन भाषाको ‘कार्ता’ सँग मेल खान्छ । हाम्रोमा भनिने नक्साचाहिँ अरबीबाट आयो, जसको अर्थ चित्र भन्ने हुन्छ । चिनियाँहरूले ‘टु’ अर्थात् रेखाचित्र भन्छन् । म्याप शब्द त अंग्रेजीमा सोह्रौं शताब्दीमा मात्रै पसेको हो ।
टोलेमको दोस्रो शताब्दीपछि नक्सा–इतिहास खासै फस्टाएन । हजार वर्षधजति पछि १२ औं शताब्दीमा अहिलेको इटालीको सिसिली सहरमा राजा रोजर द्वितीय सन् ११३० मा राजगद्दीमा बसे । सिसिली मध्ययुगीनकालको भर्भराउँदो राज्य थियो । रोजर ११५४ मा मरे । तर, उनको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्येका एक जना थिए अल सरिफ अल इद्रिसी । रोजरले दस वर्षअघिदेखि बनाउन लगाएको पृथ्वीको बृहत् नक्सा इद्रिसीले रोजरको मृत्युभन्दा दुई साता मात्रै अघि पूरा गरेका थिए । त्यो नक्सा–किताबको नाम ‘नुज्हात अल मुस्ताख’ अर्थात् ‘जो पृथ्वी घुम्न चाहन्छ उसका लागि मनोरञ्जन’ भन्ने थियो, जसलाई पछि ‘बुक अफ रोजर’ भन्न थालियो । यो दोस्रो शताब्दीमा टोलेमीले बनाएको नक्सापछिको सबैभन्दा विस्तृत विश्वव्यापी नक्सा थियो । त्यसपछि
१३ शताब्दीमा बाइज्यान्टिनहरूले त्यहाँ शासन गरे । त्यसैबेला उनीहरूले पृथ्वीको बृहत् नक्सा बनाए ।
विश्व व्यापार बढ्दो थियो । नयाँ–नयाँ भूभाग खोज्ने र त्यसलाई कब्जा गर्ने अभियान युरोपेलीहरूले व्यापक बनाइरहेका थिए । १५ औं र १६ औं शताब्दीमा पृथ्वीको नक्सा बन्ने क्रम व्यापक भयो भने १७ औं अनि १८ औं शताब्दीमा थप वैज्ञानिक नक्सा बन्ने क्रम चल्यो र पृथ्वीको नक्सा खारिँदै गयो । पश्चिमा मात्रै होइन पूर्वीयहरू पनि नक्साको मामलामा अगाडि नै थिए । १५ औं शताब्दीको सुरुमा जोस्इयोन शासकहरूले कोरियामा सम्भवतः यो क्षेत्रको सबैभन्दा पुरानोमध्येको र विस्तृत नक्सा बनाए, जसलाई कांगनिडो वर्ल्ड म्याप भनिन्छ । कोरिया, चीन, जापान र दक्षिण एसियालाई त्यस नक्सामा देखाइएको छ । यो नक्सा बनाउने कोन कुनले लेखेका छन्, ‘पृथ्वी निकै फराकिलो छ । हामीलाई थाहा छैन यो कति लाखौं ली होला ! तर, हामीले हाम्रो देश र छिमेकी देशका नक्साहरू मिलाएर विस्तृत नक्सा बनाएका छौं ।’
(एक ली भनेको झन्डै चार मिटर हुन्छ ।)
मध्यपहाडी राजमार्गमा बूढीगण्डकीको फाँटबाट दरौंदीको फाँट कटेर फेरि उकालिएपछि हामी लिगलिगकोटको डाँडोमा पुग्छौं, आधुनिक नेपालको प्रारम्भविन्दु । यहीँबाट नेपाल देशको नक्सा बन्न सुरु भएको थियो ।
लिगलिगकोटको भत्किएको दरबारको पर्खालमा उभिँदा जीपीएस कहन्छ– १४४० मिटर ।
लिगलिगकोट दरबारको भग्नावशेषबाट पश्चिममा हेर्दा मर्स्याङ्दीको फराकिलो फाँट देखिन्छ, जुन छपक्कै छोपेर कुहिरोले अर्को नदी बनाएको छ । अलि दुब्लो अर्को कुहिरे नदी चेपेखोलाको आकार बनाएर दक्षिण–पश्चिम हान्निँदै छ । दुई कुहिरे नदीको भेट बेंसीसहरभन्दा केही दक्षिणमा चेपेघाटमा हुन्छ । यो चेपे सानो भईकन पनि नेपालको इतिहासमा ठूलो नाम भएको खोला हो । द्रव्य शाहले चेपे नदी तरेर गोर्खा पस्ने दाउ निकाले । जो चेपेघाटबाट दौडिएर लिगलिगकोट पुग्छ, उही राजा हुन पाउँछ भन्नेमा घलेहरूलाई सहमत गराएर जालझेल गरी आफैँले जिते ।
अठारौं शताब्दीको मध्यमा पृथ्वीनारायण शाहले नेपालको नक्सा कोर्दै गर्दा उता फ्रान्समा भने शक्तिशाली राजतन्त्र ओरालो झर्दै थियो । सन् १७९३ मा गणतन्त्र घोषणा गरेर फ्रान्सेली नेताहरूले राजा लुई १६ औं र उनकी पत्नीलाई मार्ने निर्णय गर्दै गर्दा यता भने शाहवंशको मियो भर्खर गाडिएको थियो । गणतन्त्र फ्रान्सले त्यसै वर्ष पहिलो विस्तृत देशव्यापी नक्सा छाप्यो । सम्भवतः यो पृथ्वीमा देश बन्न सुरु भएपछिको पहिलो बृहत् वैज्ञानिक आधारहरूमा बनाइएको नक्सा थियो त्यो । तर, गणतन्त्र घोषणा गरेका फ्रान्सेलीहरूलाइ एउटा कुराले पिरोल्यो । खासमा फ्रान्सको नक्सा राज्यसँग होइन, जिन डोमिनिक कासिनी नामका व्यक्तिको स्वामित्वमा थियो । राजाका प्रिय पात्र कासिनीका जिजुबुबादेखि नक्साको काम सुरु भएर चार पुस्तापछि जिन कासिनीसम्म आइपुग्दा प्रान्सले सबैभन्दा आधुनिक नक्सा तयार गरेको थियो । लुई सोह्रौंको घाँटी काटेपछि राज्यले कासिनीको नक्सा पनि जफत गर्‍यो र गणतन्त्रको झन्डा फहरायो । उचाइसहितको नक्सा बनाउने काम १८ औं शताब्दीमा द्रुत गतिमा भइरहेको थियो र फ्रान्स सम्पूर्ण देशको आधुनिक र वैज्ञानिक नक्सा बनाउने पहिलो राज्य बन्यो ।
फ्रान्सको यो नक्सा उचाइसहितको थियो । उचाइ नाप्न ट्रिगोनोमेट्री सर्भे गरिन्छ, जस्तो कि नेपालको सगरमाथा नाप्न उन्नाइसौं शताब्दीमा भारतका विभिन्न स्थानबाट अवलोकन गरेर कोण नापी त्यसैको आधारमा उचाइ कायम गरिएको थियो । भर्खरै फेरि नापेर ८८४८.८६ कायम गरिएको छ ।
उता राजा ढलेर नयाँ आधुनिक नक्सा सरकारले लियो, यता पृथ्वीनारायणले नेपाल एकीकरण गरेर नयाँ नक्सा कोरे । नेपालको आधुनिक नक्सा पहिलोपटक विश्वसामु भने फ्रान्सिस बुचानान ह्यामिल्टनले पुर्‍याएका थिए । भारतमा शासन चलाइरहेको बेलायती इस्ट इन्डिया कम्पनीका सर्भेयर र डाक्टरसमेत रहेका फ्रान्सिस् बुचानान ह्यामिल्टन सन् १८०२ मा पटनाबाट उत्तर लागे र तीन महिनामा काठमाडौं पसे । उकालो लाग्दा उनले नक्सा मात्रै बनाएनन् ११०० वनस्पतिका नमुना पनि संकलन गरेर बेलायत पुर्‍याए । ह्यामिल्टनले ब्रिटिसराजका तत्कालीन सचिव जोन एडामलाई लामो पत्र लेखेर आफ्नो नक्साबारे बताएका थिए । एडामले उनलाई बहुत धन्यवाद दिँदै त्यो नक्सा नेपालमा चालिने मिलिटरी रणनीतिका लागि निकै उपयोगी हुने बताएका थिए । नक्सा हुनु त हतियार हुनु बराबर नै थियो ।
गोर्खाको लिगलिगकोटबाट लमजुङको बेंसीसहर झरेर मर्स्याङ्दी पछ्याउँदै डुम्रे झरेपछि ट्याक्सी चढेर पोखरा लाग्छु । लेकसाइडको होटल पुर्‍याउन अब भने म गुगललाई अह्राउँछु । गुगल यो नक्सा इतिहासको कान्छो पात्र हो । मानिसले वास्तवमा सग्लो पृथ्वी पहिलोपटक देखेको सन् १९७२ मा हो, जतिबेला एपोलो १७ यानले पृथ्वीको पूरै फोटो खिच्यो । आज हामीले गुगल–अर्थमा देख्ने नीलो गोलो पृथ्वीको फोटो त्यसैबेला खिचिएको थियो । त्यो खासमा फोटो थियो र त्यसैमा पछि नक्सा कोरियो । पोखराको पृथ्वीचोक पुगेपछि म गुगललाई आदेश दिन्छु— होटल आवास पुर्‍याइदेऊ कान्छी !
‘किप लेफ्ट फर १.३ किलोमिटर अन फेवामार्ग, टर्न लफ्टे टुवार्ड टिकेपाटन रोड, टर्न लेफ्ट अन टु टिकेपाटक रोड फर टु हन्ड्रेड मिटर्स, एट फोर्टी मिटर्स टर्न राइट, इन ट्वेन्टी मिटर्स टर्न लेफ्ट । योर डेस्टिनेसन इज अन द लेफ्ट’, कान्छीले
भट्याउँदै गइन् हामीले दूरी घटाउँदै गयौं ।
सराङकोटमा नेपाल साहित्य महोत्सवमा व्यापक छलफल भइरहेको छ । गण्डकीको कथा खोजेर म साहित्य महोत्सवमा भाग लिन बूढीगण्डकीबाट पश्चिम हान्निएको हुँ । माछापुच्छ्रे बुंगै छ भने छेउको पूर्वपश्चिममा रहेका अन्नपूर्ण, धौलागिरि– चाहिँ रहलपहल हिउँको सेतो फेटा कुँदेर उभिइरहेका छन् ।
माथि सराङकोटमा प्याराग्लाइडिङ गरिरहेकाहरूले कति ख्याल गरे कुन्नि ! यता होटलपछाडिको छलफलमा मेरो सेसनका वक्ताहरू भनिरहेछन् कि यो पृथ्वीको नक्सा गएको दुई सय वर्षमा व्यापक रूपमा फेरियो । अरनिको पाण्डे बोल्दाबोल्दै पछाडि फर्कन्छन् र कालो माछापुच्छ्रेपट्टि देखाउँदै भन्छन्, ‘त्यो माछापुच्छ्रेको एकभागका हिउँको नदी अर्थात् हिमनदी थियो तर अहिले हरायो । त्यसको नक्सा फेरियो ।’ त्यसलाई चाँडो चाँडो नक्सा फर्न बाध्य पार्ने काम मानिसले गरिरहेको छ । उसले चढेको गाडी, पकाएको खाना, उडेको जहाज सबैले कार्बनडाइअक्साइड ग्यास निकाले र त्यसकै कारण वायुमण्डलमा थुपारिएको ग्यासले सूर्यको तापलाई चाहिने मात्रामा यहाँबाट निस्कन दिएन । मानिस मात्रै त्यस्तो एउटा प्रजाति हो, जसले केही सय वर्षमा नै पृथ्वीको नक्सा व्यापक रूपमा फेर्‍यो । आजसम्म कुनै पनि प्रजातिले यस्तो गरेको थिएन । ‘माछापुच्छ्रेको कुमतिरै तीनवटा आगोको मुस्ला देख्नुभयो त्यो पनि यी हिमालको नक्सा फेर्ने कारक हुन्,’ वायुमण्डलीय विज्ञानका ज्ञाता पाण्डे भन्छन् । कसरी ?
धूवाँको मुस्लोमा कार्बनका काला कणहरू छन् । ती गएर सेतो हिउँमा टाँसिन्छन् र जब घामका किरण त्यसमा
पर्छन्, ती कणले थप तातो सोसिदिएर हिउँलाई द्रुत
गतिमा पगाल्छन् । त्यसैले पनि हिमालको नक्सा चाँडै फेरिइरहेका छन् ।
माछापुच्छ्रे–गफ सकेर म यसो बाहिर के निस्केको थिएँ, एक जना गेरुवस्त्रमा सजिएको भिक्षु मुसुक्क हाँस्छन् । मैले चिनेको कुनै पनि मानिस वा कम्तीमा मलाई नामले बोलाउने कुनै भिक्षु यो पृथ्वीमा मैले साथी बनाएको छैन । उनी भन्छन्, ‘म तपाईंकै आवाज सुनिरहेको थिएँ ।’ उनको घाँटीको कार्ड होल्डरमा लेखिएको छ— भिक्षु कस्यप । उनीसँग त कैयौं दिन लाङटाङका पहाडमा हिँडेको थिएँ । सिंहदरबारमा गफिएको थिएँ । उनी नेता थिए । उनी अभियन्ता थिए । तेस्रोलिंगीहरूको अधिकारको वकालत गर्ने सुनीलबाबु पन्त पो अहिले भिक्षु कस्यप भएका रहेछन् । माछापुच्छ्रेको फेरिएको नक्सा–गफपछि म सुनीलबाबुको फेरिएको जिन्दगीको नक्सा कसरी कोरियो भन्नेमा निकै उत्सुक हुन्छु । ‘भिक्षु कसरी बन्ने ?’ उनी हाँस्छन् । ‘मैले नजानेरै सोधेको हुँ,’ म भन्छु । ‘बैराग्य आउनुपर्छ । निराशा र बैराग्यमा धेरै फरक छ । निराशाले दिशाविहीन बनाउँछ तर बैराग्यले एउटा मात्रै दिशा खोज्न बाध्य बनाउँछ ।’
‘अझै बुझिन प्रट्याउनुस् न ।’
‘त्यो बैराग्य, जसले तपाईंले बाहिरी आवरणभन्दा भित्री मनलाई बुझ्नुपर्छ भन्ने सिकाउँछ । हो त्यही बैराग्य आउनु नै भिक्षु हुने बाटोको पहिलो विन्दु हो । त्यसपछि तपाईं आफैंले आफैंलाई आफैंभित्र खोज्न थाल्नुहुन्छ ।’
‘के गर्नुपर्छ भिक्षु भएपछि ?’
‘कुविचारलाई सुविचारको वाणले हान्ने ।’
खुइलिएको तालु, फेरिएको कपडा र विचार ! फेरिएको जिन्दगीको नक्सा !
फेवातालमा छेउमा पिच गरेको बाटोमा बगेले हिँडिरहेछु । रातको १० बजे पनि फेवातालको छेउमा सेकुवा बन्दै छ । कोही गफिँदै छन् । मदिराका बोतल धमाधम खाली हुँदै छन् । जहाँ अहिले सेकुवा बनिरहको छ, मायाप्रीतिको गफ भइरहेको छ, त्यहाँ केही वर्षअघि माछाले फुल पार्थे । तर, अहिले फेवातालको नक्सा पूरै फेरिएको छ ।
घरबाट हिँडेको १० दिनमा गण्डकीलाई छिमलेर, चार–पांग्रेमा गुडेर, पखेटे जहाजमा उडेर म काठमाडौं दक्षिणको बस्ती भैंसेपाटी आइपुगेको छु । घरछेउको नक्सा पनि फेरिई पो सकेछ कति चाँडै । दुई मान्छे बराबरको बडेमानको ढुंगाको पर्खाल उभिइसकेको छ । पिलरहरू पनि गाड्ने तयारी भइरहेको छ । अबको केही महिनापछि नै यहाँ अर्को घर बन्नेछ । फेरि पृथ्वीको नक्सा फेरिनेछ ।
वास्तवमा गुगल अर्थको नक्सामा लेखिएको छ– द मोस्ट डिटेल्ड् म्याप अफ अर्थ अर्थात् पृथ्वीको सबैभन्दा विस्तृत नक्सा । सही हो, उसले द कम्प्लिट म्याप अफ अर्थ वा पृथ्वीको पूर्ण नक्सा किन लेखेन ? उसलाई पनि थाहा छ, यो पृथ्वीको पूर्ण नक्सा कहिल्यै कसैले बनाउन सक्ने छैन किनभने यहाँ सधैँ परिवर्तन भइरहनेछ । अझै मान्छेको युगमा त पृथ्वीको नक्सा यति द्रुत गतिमा परिवर्तन भइरहेछ कि भू–उपग्रह पनि आफैँ रनभुल्लमा छन् सायद ।

शनिबार विशेष

अब पनि म मौन रहें भने

- नवीन

 

अत्ति प्रिय थियो मलाई मेरो मौनता Û
राखेको थिएा सुमसुम्याएर, प्रिय उपहारलाई झैं
राखेको थिएा सुस्तरी चलाएर, फूलको कोपिलालाई झैं
राखेको थिएा स्नेहले पुलपुल्याएर, काखको
शिशुलाई झैं

लाग्थ्यो,
मौन भएरै पाएको हुा यो जिन्दगी र यो दुनियाा
मौन भएरै हिाडेको हुा यत्रो लामो जीवनको बाटो
मौन भएरै चढेको हुा समयको शिखर

किशोरीहरु चिच्याउाथे, भागिहिाड्दथो चीत्कारदेखि
‘अनागरिक’ का आासु–आासु र आाखा–आाखा बोल्थे,
भागिहिाड्दथो त्यो भूगोलबाटै
साथीहरु सडकबाटै मुठी उठाउाथे,
भागिहिाड्थदो आफ्नो मुठी लुकाएर म

लाग्थ्यो,
मौन भएरै झरी बन्छ बादल
कि बिर्सिसकेको थिएा
बर्सिनुअघिको बादल कति जोडजोडले गडगडाउाछ

लाग्थ्यो,
मौन भएरै देख्न पाउाछ कोही कसैले बिहानी
कि बिर्सिसकेको थिएा
निष्पट्ट चिसो रात कसरी गुजारेर ब्युाझन्छ ऊ

लाग्थ्यो,
मौन भएरै पाएको हुा यो मुस्कान
कि बिर्सिसकेको थिएा
पृथ्वीमा टेक्नासाथ जोड जोडले चिच्याएको थिएा म
गर्भबाट झर्नासाथ जीवित भएको प्रमाण चिच्याहटमा थियो मेरो

तर, चिच्याहटको गर्भकथा छाडिदिएथो त्यतै मैले
चिच्याहटको शक्ति र सामर्थ्य बिर्सिएथो त्यहीाबाटै
मभित्र दनदन बलिरहने आगो निभाइदिन्थो त्यतै मैले
मभित्रको आाधीलाई थुनिदिएथो त्यतै मैले

म सोच्दथो –
म मौन रहो भने धेरैथोक हुनेछ यहाा
एउटा हल्ला कम हुनेछ, एउटा चिच्याहट कम हुनेछ
एउटा कोलाहल कम हुनेछ, एउटा प्रतिरोध कम हुनेछ

र म मौन रहिरहो...
सिर्फ मौन, मात्र मौन
केवल मौन....
संविधान च्यातियो – मौन बसो म
अधिकार खोसियो – मौन बसो म
भाषा मासियो– मौन बसो म
पहिचान र आस्थामाथि बन्दुक पड्काइयो –
मौन बसो म

र मौनतालाई सत्य मानिरहेको बखत
अथवा मौनताभित्रै बााचिरहेको बखत
मेरो आवाज खोसियो Û
यसपछि मात्रै बाहिर निस्किएा म गहिरो मौनताबाट
अचानक बाहिर निस्किएा म आध्यारो गुफाबाट

कि यतिबेला लागिरहेछ
मौनताकै आसक्तिले बिर्सिदिएा – ‘म मानिस हुा ।’
मौनताकै आसक्तिले बिर्सिदिएा – ‘म नागरिक हुा ।’

यतिबेला आफ्नै ती मौनताप्रति घृणा जागिरहेछ
ठीक यो घडीमा
आफ्नै मौनतालाई दुत्कार्न मन लागिरहेछ
लागिरहेछ
कि आफ्नै यो कुरुप मौनतालाई बेतोडले चिथोरिदिऊा
नांगेझार बनाइदिऊा
पुर्खा सम्झेर पित्री फलाकिदिऊा
आवाजलाई फर्काइदिऊा
र चिच्याइदिऊा जोड जोडले
कराइदिऊा आफ्नै सीमितताको पर्खाल भत्कने गरी
कि भोलि मौन बसेकैले पछुताउन नपरोस्
कोही कसैले ।

Page 6
शनिबार विशेष

हेर्दा जाबो कागज !

कागज धेरै नहुनेलाई ढुंगाको सिरानी भए पनि निद्रा लाग्छ । कागज धेरै हुनेलाई सिमलको भुवामा पनि रातभरि निद्रा भाग्छ । यो कागज सल्केरै एक दिन पृथ्वीका सबै प्राणी डढ्नेछन् ।
- हरिवंश आचार्य

कागजको आविष्कार नभएको समयमा पनि लेख्ने अक्षरको आविष्कार भइसकेको थियो । कागजको आविष्कार कुन देशबाट भएको हो भनेर अलिकति लख काट्न सकिन्छ तर अक्षरको आविष्कारचाहिँ इन्द्रको बाबु चन्द्रकै पालामा सुरु भइसकेको हुनुपर्छ । यो अक्षरको आविष्कार गर्ने अक्षरबहादुरले जमिनमा छेस्कोले कोरेर हिमाल, पहाड, नदी, फूलको चित्र कोरे होलान् । अक्षरबहादुरलाई मानिसले बोल्ने भाषाको पनि चित्र बनाउन मन लाग्यो होला । त्यसपछि ‘क’ उच्चारण हुने ध्वनिको कल्पना गरेर ‘क’ अक्षरको चित्र भुइँमा कोरे होलान् । ‘ख’ उच्चारण हुने ध्वनिको कल्पना गरेर ‘ख’ को चित्र बनाए होलान् । त्यसैगरी ‘क’ देखि ‘क्ष’ ‘त्र’ ‘ज्ञ’ सम्मकै अक्षरको कल्पना गरेर चित्र कोरे होलान् । ‘क’ देखि ‘ज्ञ’ सम्म अक्षरको चित्र बनाएपछि बोल्दा आधा मात्र उच्चारण हुने अक्षर ‘कन्या’, ‘भन्या’ जस्तो शब्दको चित्र बनाउँदा ‘न’ लाई आधा बनाएर सिंगो ‘य’ सँग जोडिदिएर ‘कन्या’, ‘भन्या’ जस्तो शब्दको चित्र बनाए होलान् । ‘गरी’, ‘भरी’, ‘मरी’ शब्दको चित्र बनाउँदा ‘ग’ पछाडि एउटा धर्को तानेर थपेको धर्कोमाथि चन्द्रमाजस्तो चित्रलाई घोप्टो पारेर टोपीजस्तो लगाएपछि ‘मरी’, ‘गरी’, ‘भरी’ जस्तो शब्दको चित्र बनाउँदै बोलिने सबै शब्दको चित्र बनाउन भ्याए होलान् ।

अक्षरबहादुरले आफूले कल्पना गरी भुइँमा छेस्कोले कोरेको अक्षर बिर्सिएला, मेटिएला भनेर दर्सनढुंगोमा फलामको चुच्चोले खोपी–खोपी लेखे होलान् । अक्षरको जस्तै अंकको पनि कल्पना गरेर एक, दुई, तीनदेखि नौसम्मको चित्र कोरे होलान् । धेरैबेर सोचेर एकको पछाडि एउटा गोलो थपेर दसको कल्पना गरे होलान् । दुइटा गोलो थपेर सय, तिनटा गोलो थपेर हजारको कल्पना गरे होलान् । एकपछाडि दुई थपिदिए बाह्र, एकपछाडि तीन थपिदिए तेह्र गर्दै सय अंकसम्मको चित्र बनाए होलान् ।
छिमेकी देश चीनमा चिङ हो कि चाङको श्रीमतीले छोरो जन्माइछन् र त्यो छोरोको नाम कागजबहादुर राखेछन् । त्यो कागजबहादुर ठूलो भएपछि मठ–मन्दिर र ऐतिहासिक स्थलहरूको भ्रमणमा जाँदा दर्सनढुंगामा फलामको चुच्चोले खोपेर शिलालेखहरू लेखेको देखेछ । त्यसपछि गाउँघरमा छेस्कोले भुइँमा कोरेर अक्षर लेखेको देखेर कागजबहादुरलाई एक वर्ष र बाह्र महिना निद्रा लागेनछ ।
कागजबहादुरले दाउरा बाल्दा निस्केको अंगारलाई पिँधेर त्यो अंगारको धूलोमा अलिकति पानी हालेर लेदो बनाए होलान् र बाँसको बोक्रामा श्री लेखे होलान् । बाँसको बोक्रामा लेखेको श्री दंग परेर हेर्दा बाँसको बोक्रापछाडि भएको झुस हातमा बिझेर हात–दिमागै झन्कने गरेर चिलायो होला । दिमाग झन्कदाखेरि कागजबहादुरको झन्केको दिमागमा कागज बनाउने तरिका फुर्‍यो होला ।
कागजबहादुरले रूखको बोक्रा ताछेर टुक्राटुक्रा पारेर त्यो टुक्रालाई एउटा ठूलो भाँडोमा राखेर दाउरा बालेर तथा भाँडोमा पानी हालेर आगोमाथि बसाले होलान् । रूखको बोक्रालाई पानी थप्दै पकाउँदै, पानी थप्दै पकाउँदै गरी बिरामीले खाने जाउलोजस्तै लेदो बनाएर त्यही बाँसको बोक्रामा लिपेर तीन दिनसम्म घाममा सुकाएपछि कराईबाट ढिडोको पाप्रा उप्काएको जस्तो गरी उप्काए होलान् । अनि बाँसको भाइ निगालोको हाँगा तिखारेर चुच्चो बनाई त्यो चुच्चोले अंगारको धूलोको लेदोमा चोपेर आफ्नो नाम ‘कागजबहादुर’ लेखे होलान् । कागजबहादुरले दिमाग खियाएर आविष्कार गरेको हुनाले त्यसको नाम कागज भनेर नामकरण गरे होलान् । निगालेको हाँगाको चुच्चोको नाम होल्डर र रूखको बोक्रा पकाएर बनाएको लेदोको नाम लोकता अनि अंगारलाई पिँधी धूलो बनाएको लेदोको नाम मसी भनेर राखे होलान् ।
पछि चीनका कागजबहादुरले बनाएको कागजको नक्कल गर्दै धेरै देशका कागजबहादुरहरूले आ–आफ्नो देशमा पनि कागज बनाउन सुरु गरे होलान् । हाम्रो देश नेपालमा पनि कागजबहादुरहरू जन्मेछन् र त्यसरी नै कागज बनाउन थालेछन् । नेपालमा बनाएको हुनाले त्यस्तो कागजको नाम नै नेपाली कागज राखेछन् ।
समयसँगसँगै धेरै किसिमका कागज बनिसकेका छन् । लेख्ने कागज, छाप्ने कागज, खाना खाने कागज, खाना फाल्ने कागज, मुख पुछ्ने कागज, हात पुछ्ने कागज, नाक पुछ्ने कागज, के–के पुछ्ने कागज ! यी सबै कागजको पनि कागज नेता कागज । यो नेता कागजलाई नेपालमा रुपैयाँ, भारतमा रुपैये, चीनमा युआन, अमेरिकामा डलर, थाइल्यान्डमा भाट, बंगलादेशमा टाका भन्छन् । जापानमा यान, बेलायतमा पाउन्ड अनि युरोपमा युरो । यी संसारभरिका नेता कागजको अगाडि नेपाली नेता कागज रुपैयाँको शिर निहुरिएको छ । एक डलर कागजसँग कुस्ती खेल्न सयभन्दा बढी नोट कागजले पनि सक्दैन । तर, यो कागजको भीडमा नेपाली कागजबहादुरहरूले रूखको बोक्रा पकाएर बनाएको नेपाली कागजको चाहिँ आजसम्म पनि ठूलो इज्जत छ । सजिलै नच्यातिने, नउप्किने, खुम्चे पनि फेरि सीधा हुने भएकाले नेपालको अड्डा–अदालतमा लिखित, तमसुक, लालपुर्जाका लागि त्यो अनिवार्य छ । शुभकार्य दिगो र बलियो होस् । श्रीमान्–श्रीमतीको सम्बन्ध नच्यातियोस् भनेर शुभसमारोहहरूको निमन्त्रणा नेपाली कागजमै छाप्ने चलन अझै बाँकी छ । उपहारका सामानहरूमा पनि नच्यातिओस्, नमास्सियोस् भनेर नेपाली कागज प्रयोग गरेर बनाउने चलन छ ।
उहिले उहिले हाम्रो बाजेको बाजे, उनका पनि बाजे, उनका पनि हजुरबाजेको समयमा पैसा भन्ने वस्तुको आवश्यकता थिएन । अन्न आ–आफ्नो खेतबारीमा टन्न भइहाल्थ्यो । घर आफूआफू मिलेर बनाउँथे । टाउको दुखे जडीबुटी चपाउँथे । बिस्तारै बिस्तारै गोराहरूको देशमा अड्डा अदालत खुल्न थाले । अड्डामा काम गर्ने अड्डाकारीहरूलाई, अदालतमा काम गर्ने मुद्दा स्यारीहरूलाई ज्याला दिनुपर्‍यो । तिनीहरूलाई बोरामा चामल, झोलामा दाल, टपरीमा घ्यू, ढुंग्रोमा तेल, पोको पारेको मसला, कोट पाइन्टको कपडाको टुक्रा, खुट्टामा हुल्ने जुत्ता, तुनक्याउने रक्सी र वाइनको ढ्वाङ महिनै पिच्छे बाँडेर साध्धे भएनछ । त्यसपछि जनावरको छालामा धातुले बुट्टा डामेर पैसालाई जन्म दिइएछ । त्यसरी जनावरको छालामा डामेर पैसा बनाउन सरकारले मात्र पाउने अरूले त्यसरी पैसा बनाए बाँच्न नपाउने झ्याली पिटिएछ । पृथ्वीको उमेर बढेसँगै माटोको पैसा तथा धातुका पैसा बन्न थाले ।
नेपालमा पनि विक्रम संवत् ५२१ मा राजा मानदेवले मनांग मुद्रा नाम राखी सरकारको चाकरीमा आउनेहरूका लागि ज्यालाको रूपमा पैसा बनाउन सुरु गरेका हुन् । चार फुकी बराबर एक पैसा, दुई पैसा, चार पैसा, पाँच पैसा, दस पैसा, बीस पैसा बराबर एक आना, पच्चीस पैसा बराबर एक सुका, पचास पैसा बराबर एक मोहोर, सय पैसा बराबर एक रुपैयाँ भनेर टक्सारमा छापिन थाल्यो ।
नेपालको एकीकरण भएपछि महँगी यति बढ्न थाल्यो कि काठमाडौं खाल्टोको हनुमानढोका वरिपरि एक रोपनी जमिनको सय मोहोर रुपैयाँ भन्न थाले । अलिकति सामान किन्नलाई पनि बगलीभरि धातुको पैसा लिएर जानुपर्ने भयो । बडाहाकिमले महिनाको एक रुपैयाँ, सुब्बा साहेबलाई एक मोहोर, खरदारले एक सुका, मुखियाले चार आना, बैदारलाई पन्ध्र्र पैसा ज्याला दिने चलन सुरु भएछ । महँगी बढेर किनमेल गर्दा धातुको पैसा बोकेर हिँड्दा इस्टकोटको र कोटको बगली च्यातिन थालेछ । अहिले हामी गीतै गाउँछौं नि, ‘उइलेत बाजेको पालामा मोहोर गन्थे डालामा’ भनेर । बिचरा उइलेका बाजेहरूलाई कति गाह्रो हुन्थ्यो होला डालोमा पैसा बोकेर घर–जग्गा किन्नलाई । धातुको पैसाबाट घुसलिन्या र दिन्या गर्दा छानन्याङ्ग छुन्दुङ्ग गरेर कराउने भएकोले घुस लिन्या र दिन्या गर्न गाह्रो हुन थाल्यो ।
विदेशतिर त कागजको पैसा छाप्न सुरु भएको धेरै भइसकेको थियो । सरकारसँग चाहिँ कागजको नोट छाप्ने सामर्थ्य नभएपछि नेपालको धातुको मुद्रासँग हिन्दुस्थानको कागजको नोट पनि नेपालमा चल्न सुरु भएछ । २००७ सालमा प्रजातन्त्र भन्ने आएछ । प्रजातन्त्रले कागजको नोटतन्त्र पनि नेपालमा ल्याएछ । राजा त्रिभुवनले आफूले श्रीपेच लगाएर बसेको फोटो भएको नेपाली नोटहरू विदेशमा छपाएर ल्याएछन् ।
पृथ्वीनारायणले नेपाल एकीकरण गर्नुअगावै हाम्रो नेपाल देशमा घुस प्रथा सुरु भैसकेको रहेछ । त्यसैले पृथ्वीनारायणले ‘घूस खान्या र दिन्या दुबै देशका शत्रु हुन्’ भन्ने उपदेश नै दिनुपर्ने भएछ । पछि उनकै सन्तानले घुस खान्या र खान छुट दिन्या सुरु गरे । जब पृथ्वीनारायणको एघारौं पुस्ताले गद्दी त्याग गर्दासम्म घुस नदिन्या र घुस नलिन्या दुवै देशका शत्रु हुन् भन्ने भइसकेको थियो भने गणतन्त्रमा त घूस नदिन्या नलिन्या गणतन्त्रका महान् सत्रु हुन भन्ने सिद्ध भैसकेको छ । यो कागजको नोटले घूस लिन्या र दिन्यालाई खुब सजिलो पारिदिएको छ ।
आजकाल त्यो कागजको धेरै उपनामहरू पनि आएका छन्– सुल्क, घूस, भेटी, कमिसन, कर, तलब, दहेज, तिलक आदि ।
हेर्दा जाबो कागज यसको कत्रो तागत ? यो पैसा नाम गरेको कागजको कत्रो ठूलो तागत ! आज संसारै त्यही कागजको पछि दौडिरहेको छ । चीन दौडिरहेको छ । अमेरिका दौडिरहेको छ । रुस, बेलायत, युरोप, जापान, भारत सब देश दौडिरहेका छन् । हाम्रो देश नेपालचाहिँ यो कागजको पछि दौडन सकेको छैन तर नेपालीहरू दौडिरहेका छन्, पौडिरहेका छन् । सबैभन्दा धेरै कागजको पछाडि दौडिनेमा नेताज्यूहरू हुन् भने दौडन सिकाउने कर्मचारीज्यूहरू हुन् । र, पैसामा नेता नचाउनेचाहिँ माफियाज्यूहरू हुन् । माफियाहरूले जत्ति नोट लिए पनि, दिए पनि माफ हुने भएकाले माफिया भनेको ।
आज सडकमा जति मानिस दौडिरहेका छन्, जति हवाइजहाजमा उडिरहेका छन्, जति यातायातमा हुइँकिरहेका छन् ती प्रायः सबैको एउटै उद्देश्य हो— कागज बटुल्ने । मन्दिर, मस्जिद, चर्च, गुरुद्वाराहरूमा जति भक्तजन पुग्छन्, सबैको भित्री चाहना आफ्नो सन्तानका लागि नोट नाम गरेको कागज पाऊँ भनेर आर्शीवाद माग्ने हो ।
जो जीवनसँग भागेर खरानी धसेर जोगी भएर हिँडेका छन्, त्यही जोगीलाई सय–पचासको कागज दिएर करोडौं करोडको कागज पाइयोस् भनेर आशीर्वाद माग्छन् भक्तजन । देवी देवताको मूर्तिको टाउकैमा लाग्ने गरी धातुको पैसाले हिर्काएर, देवतालाई चढाउने भनेर सबैभन्दा सस्तो लड्डु–पेडा किनेर देवी देवतासँग अर्बौं कागजको बरदान माग्छन् भक्तजन ।
नोट कागज नहुनेहरूको यो समाजमा इज्जत, मूल्य, मान्यता केही हुँदैन । जसले नोट नाम गरेको कागज धेरै खर्च गर्न सक्छ त्यो चोर, डाँका जे भए पनि त्यसको ठूलो इज्जत हुन्छ र उनीहरूका वरिपरि ठूला ठूला मानिसहरू पनि झिँगा भन्केको जस्तो भन्किरहेका हुन्छन् । नोट कागज खर्च गरेपछि जस्तोसुकैलाई पनि राजनीति, पार्टीमा स्वागत गरिन्छ । मन्त्री बनाएर तोप पड्काएर सलोट गरिन्छ ।
दलालज्यूहरूले पचास हजार भारु कागजका लागि आफ्नै दिदी–बहिनीलाई कोठीमा पुर्‍याउँछन् । त्यही कागज जम्मा गर्नका लागि तस्करेज्यूहरूले लागूपदार्थ ओसारेर अर्काको छोरा–छोरी लठ्याउँछन् । अशिक्षित कत्ति सासू–ससुराज्यूहरूले दहेज कम ल्याई भनेर बुहारीलाई जिउँदै आगो लगाउँछन् । त्यही कागज जम्मा गर्नका लागि मरिसकेको बिरामीको पनि अप्रेसन गर्नुपर्छ भनेर डाक्टरहरूले पैसा कुम्ल्याउँछन् । त्यही कागज जम्मा गर्न कालले मरेको मान्छे पनि अस्पतालको लापरबाहीले मर्‍यो भनेर तोडफोड समूहले वितण्डा मच्चाउँछन् । त्यही कागज जम्मा गर्न विषादी किङहरूले बनाएको केमिकल खाँदा आमाको पेटभित्र कुनै–कुनै बच्चाको एउटा कान बढ्छ र अर्को कान नबढेर सानो हुन्छ । हातको अथवा खुट्टाको चारवटा औंला बढेको र एउटा औंला नबढेको हुन सक्छ, त्यस्तो नबढेको अंगलाई बढाउन गर्भवती महिलालाई सात महिनामा लगाउने सुई, सानो लौकालाई लगाइदिएर फ्रिजभित्र हाल्यो भने लौका एकै रातमा भुसतिघ्रेको तिघ्रा जत्रो भएर फ्रिजमा नअटाएर फ्रिजको ढोका खोलेर गुड मर्निङ भन्छ । क्रिकेटको बलजत्रो फर्सीको कैंडोलाई त्यही सुई हालिदियो भने एकै रातमा घन्टाउकेको टाउको जत्रो बनाउँछ । अनि मानिसले त्यस्तो विषादी भरिएको तरकारी भात र रोटीसँग खान्छन् । आजकाल यस्तो सुई मासु–किङहरूले सानोसानो खसी–बोकालाई लगाएर खसी बोकाले केही दिनमै शरीरमा दस–पन्ध्र किलो मासु थप्छ । बोइलर–किङहरूले कुखुराको दानामा, माच्छा किङहरूले माच्छाको दानामा युरिया मल मिसाएर खान दिएर माच्छा, कुखुरोलाई ह्वातह्वात्तै बढाउँछन् अरे । अनि त्यही माच्छा, मासु मानिसले ज्युनार गर्दा मान्छेको छोराछोरीको शरीर पनि ह्वात्तै बढ्छ अरे । त्यसैले चौध–पन्ध्र वर्षका केटा मान्छेको पनि छाती ठूलठूलो हुन थालेको छ अरे कुनै कुनै देशमा ।
सबैभन्दा धेरै कागज त प्लटिङ किङहरूले जम्मा गरेका छन् । प्लटिङ किङहरूले डाँडा, पाखा भीर, खोला, नाला, राजकुलो, धान फल्ने खेत, मकै, कोदो खत्रे बारी सब प्लटिङ गरेर सक्काउन लागिसके ।
हाम्रो देशमा कागजप्रेमी कर्मचारी र कागजप्रेमी नेताहरूले प्लटिङ किङहरूलाई धेरै आशीर्वाद दिनुभएको छ र उहाँहरूसँग आशीर्वाद लिनुभएको छ । अब केही वर्षपछि नेपालको जमिन सबै घरैघरले छोपिदिन्छ, खेतबारी हेर्नलाई अब नेपालीले विदेशतिर जानुपर्ने हुन्छ । प्लटिङ किङहरूले देशको प्रधानमन्त्री बस्ने बालुवाटारको निवास, टुँडिखेल, भृकुटीमण्डप पनि प्लटिङ गर्न खोजे र गरे । प्रधानमन्त्री निवास नै प्लटिङ गरिदिएर गिनिज बुकमा नाम राख्ने काम पनि हाम्रो प्लटिङ किङहरूले गरे ।
नेताक्र्यासी र बिउरोक्र्यासीहरूको संरक्षणमा डोजर किङ, क्रसर किङ, बालुवा किङ, ट्रिपर किङहरूले डाँडा, खोला देख्यो कि कोपर्छन् । चुरे कोपरेर भारत पुर्‍याइरहेका छन् र तराईलाई मरुभूमि बनाइरहेको पनि यही कागजै जम्मा गर्नलाई हो । भगवान् देता हे तो छप्पर फाडके देता हे भनेको, घरको छानो उप्काएर भगवान्ले कागज खन्याइदिन्छन् भनेको हो । भगवान्ले पनि अनैतिक काम गर्नेलाई छप्पड फाडके देता हे, नैतिक काम गर्नेलाई गालामा थप्पड मार देता हे । जुन देशमा कागज मन पराउने नेता, अदालत, कर्मचारी, हुन्छन् त्यो देशमा काम गर्न सजिलो हुन्छ अरे । यहाँ हुँदै नहुने काम पनि कागज दिएपछि एकै छिनमा हुन्छ । हुने काम पनि कागज दिएन भने कहिल्यै हुँदैन । कागज दिएन भने मानिसलाई जनावरजस्तै बनाइदिन सक्छन् । कागज दियो भने बाँदरलाई पनि नागरिकता दिलाइदिन सक्छन् ।
हाम्रो देशमा नेता–कर्मचारीहरूलाई नेपालको कागज मात्र होइन रुपैये, युरो, पाउन्ड, डलर, यान नाम गरेका कागज पनि खुब मन पर्ने भएकाले केही राष्ट्रलाई नेपालमा उभिन सजिलो भएको छ । हाम्रो शान्ति सुरक्षा राजनीति, धर्म सबै ती राष्ट्रहरूले नै हामीलाई निर्देशित गर्छन् ।
विदेशी कागज दिएर नेपाललाई खेलमैदान बनाउने र त्यहाँ नेपाली नेपालीबीच फुटवल खेलाउने ठूलो कार्यक्रम छ रे । तर, फुटबलचाहिँ छालाको होइन नेपाली नेपालीको टाउकोको फुटबल म्याच खेलाएर त्यो म्याच हेर्न यहाँ आउन युरो, डलरवालाहरूको ठूलो इच्छा देखिन्छ । पैसाले उमेर किन्न पाइँदैन भन्छन् तर नेताहरूले राष्ट्र बैंकको ढुकुटीबाट कागज लगेर विदेशबाट उमेर किनेर आउँछन् । पैसाले देश किन्न पाइँदैन भन्छन् । तर, अलिकति कागज दिएपछि नागरिकता किन्न पाइन्छ, नागरिकता भएपछि देश पाइहालिन्छ नि ।
पैसाले आमा किन्न पाइँदैन भन्छन् तर आजकल कागज दिएपछि पाठेघर भाडामा दिने आमा पाइन्छ । ती भाडाका आमाहरूलाई आफ्नै छोराछोरी हुर्काउन कागज चाहिएर होला उनले आफ्नो पाठेघर अरूको छोराछोरी जन्माउन भाडामा दिनुपरेको । यो कागज भन्ने कस्तो चीज रहेछ । यो नभए पनि पोल्दो रहेछ । भए झन् पोल्दो रहेछ । नहुँदा थोरै पोल्दो रहेछ । जति भयो त्यति औडाहा पोल्दो रहेछ । कागज नहुने मान्छे बाटोमा कुनै डर–त्रास नबोकी हिँड्न सक्छ । कागज धेरै हुनेलाई सुरक्षाकर्मीले छोपिएर हिँड्नुपर्छ । कागज धेरै नहुनेलाई ढुंगाको सिरानी भए पनि निद्रा लाग्छ । कागज धेरै हुनेलाई सिमलको भुवामा पनि रातभरि निद्रा भाग्छ र निदाउन निद्राको गोली माग्छ ।
दाइले भाइको ज्यान ताक्छ । भाइले दाइको प्राण माग्छ । मिल्ने साथी, तर कागजमा तँ माथि कि म माथि भनेर देशै बर्बाद गर्छन् । राष्ट्रसेवकहरू कागज खान पाउने विभागमा लाखौंलाख कागज खुवाएर सरुवा माग्छन् । मौका परे यहाँ यति कागज खान्छन् यति खान्छन् एउटा राष्ट्रसेवकले खाएको कागज त्यसका सात पुस्तापछि पनि ढ्याउ ढ्याउती डकार्छन् ।
कागज खान नपाउने कर्मचारीले कागज खान पाउन अख्तियारलाई कुरा लगाउँछ । अख्तियारले कागज खानेलाई अदालतमा चढाउँछ । अदालतले कागज खाएर कागज खानेको सम्पत्ति चोरेको सम्पत्ति होइन यो त वैध सम्पत्ति हो भनेर कागज खानेको इज्जतलाई अदालतको बासिङ मेसिनमा हालेर धोइदिन्छ र सफा बनाइदिन्छ ।
यो कागज सल्केरै एक दिन पृथ्वीका सबै प्राणी डढ्नेछन् ।
अमेरिकालाई चीनले हामीले भन्दा धेरै कागज बटुल्ला भन्ने डर छ । चीन अमेरिकाभन्दा मसँग धेरै कागज हुनुपर्छ भन्ने मान्यता राख्छ । यता रसियालाई चीन र अमेरिकासँग कागज धेरै भयो भने चिन्ता छ । जर्मनी, फ्रान्स, बेलायत हामी भनेको खानदानी हौं, हामीसँग हिङ नभए पनि हिङबाँध्ने टालो छ, त्यसैले हामीले जसरी भए पनि धेरै कागज जम्मा गर्नुपर्छ भन्छन् ।
हाम्रो देश नेपालको ज्यापूहरूले पहिला पहिला खेतबाट उखेलेर दुई हात लामो मुला बेच्थे । त्यही हाम्रो देशका ज्यापू दाइले उमार्ने मुलासँग अनुहार मिल्ने ठूलठूलो मिसाइल बनाएर देशहरूले संसारभर छ्यासछ्यास्ती बेचिरहेका छन् । हाम्रो ज्यापू दाइहरूले बचेको मुला खाएर पड्क्यो भने त वरिपरिको वातावरण मात्र एक छिन ठ्वास्स गनाउँछ । तर, त्यो मुला अनुहारको मिसाइलहरू पड्कियो भने त पृथ्वी नै दुर्गन्धित भएर गनाउँछ । सक्नेले रकेट चढेर पृथ्वीजस्तै ग्रह खोजेर भाग्लान् । कुइयाउने, सडाउने गलाउने, झिँगा, कीटाणुहरू पनि त्यो मुलाजस्तै अनुहार भएको मिसाइलबाट निस्कने ग्यासले डढेर सकिने भएकाले पृथ्वी छोडेर भाग्न नसक्नेहरूको लास पृथ्वीभरि वर्षौंसम्म छरिएर बस्लान् ।
हेर्दा जाबो कागज, यसको कत्रो तागत / आफैंले छापे समाउने, कसरी होला कमाउने ? / बैंक लुटे भुटिदिन्छन् घर फोरे कुटिदिन्छन् । / कहीँ गए नि भेटिएन पैसा फल्ने बोट

कसले ल्यायो यो कागजको चलन / त्यसको नाम थाहा पाए भनन्
जिम्दै भेटे बेस्कन हपार्थें / मरेको भए फोटोमा कोपर्थें
त्यो कागजलाई चलाउनै हुन्नथ्यो / अत्याचार कतै नि हुन्नथ्यो
नोट–नोट–नोट / कहीं गए नि भेटिएन पैसा फल्ने बोट

इमानदारको हातमै नपर्ने / बेइमानीले अथाह थुपार्ने / यो कागजले संसारै बिगार्छ / कुन दिन पृथ्वी नै प्वाल पार्छ / खारेज गरौं कागजको चलन
खाल्टो खनी कागजलाई पुरौं न / नोट–नोट–नोट / कहीं गए नि भेटिएन पैसा फल्ने बोट !

शनिबार विशेष

साहित्यकार, आन्दोलन र बहस

साहित्यकारबाट नागरिक आन्दोलन आरम्भ हुनुको अन्तर्यमा यसको सिर्जनशील पक्ष छ । यसपालिको नागरिक आन्दोलनको प्रकृति स्वतःस्फूर्त किसिमले दिनदिनै परिभाषित हुँदै गएको छ ।
- अभि सुवेदी

 

यो लेख तयार पारेको बेलासम्मको नागरिक आन्दोलनले क्रमशः उठाउँदै गएको प्रसङ्ग छ यहाँ । इतिहासले भुलेका विषयलाई उठाउनुपर्छ भनेको छ, यो आन्दोलनले । उठ्तै जानेछन् । हिजोका बृहत् आन्दोलनको बहसको केन्द्रमा राजनीतिक दलहरू थिए । तिनको पुनरुत्थान गर्नु, तिनलाई दलको आकार दिनु र एउटा संविधानभित्र राखेर तिनलाई देश र जनताको सेवा गर्ने जिम्मा दिनु ती आन्दोलनहरूको मुख्य लक्ष्य थियो । त्यो स्वाभाविक दायित्व थियो जुन दिए जनताले, दियो संविधानले । संघर्ष र बलिदान भए । त्रासद क्षणहरू आए अनि केही वर्ष बिते । ती दलहरूले त्यो बृहत् आन्दोलनले दिएको अभिभारा पूरा गरे कि गरेनन् खासै बहस भएन । तर, आन्दोलन आफैंमा उपलब्धि थियो ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेपछि त्यसको विरोधमा आन्दोलनहरू सुरु भए । संविधान निर्माणमा पनि भूमिका भएका र जारी गर्ने केही मित्रहरूले त्यसको समर्थन गरेको वाचाल थियो । नेपालको इतिहासमा स्मृति अत्यन्त छोटो हुन्छ । हिजोको ‘ट््याजेडी’ बिर्सिने क्रम सुरु भयो । उपहासपूर्ण मोडमा त्यो प्रवेश भयो । बिर्सिने र बिर्साउने मिले । त्यो ‘एम्नेसिया’ वा विस्मृति नामले छलफल गरिन्छ । त्यो एम्नेसियाको चरित्र लगभग सबै राजनीतिक दलहरूका क्रियाकलापमा देखिन थालेको छ । उनीहरूको नीति र कार्यक्रममा देखिएको अनिश्चयको कारण त्यही विस्मृतिको प्रभाव हो । तर मानिस आन्दोलित भए । पहिलो आन्दोलन त्यही नेकपाभित्रकै नेताहरूबाट भयो । नेतागणका एउटै धारणा नभए पनि नेपाली कांग्रेसबाट पनि विरोधका जुलुस र भाषणहरू आए । तर, अर्को नागरिक आन्दोलनको आरम्भ भयो । नागरिक समाजले पहिलो पार्टी नेतृत्वको आन्दोलनमा ठूलो भूमिका खेलेको थियो । तर त्यसको मूल चरित्र उभार सिर्जना गर्नु र मार्गदर्शन गर्नुमा थियो जुन त्यही रूपमा रह्यो र लगभग इतिहास भयो ।
भर्खरै सुरु भएको नागरिक आन्दोलनले त्यो विगतको जरो समायो । त्यो बिर्सेको कालखण्ड, ती दल र सरकारले भुलेका प्रतिज्ञा, ती जानीजानी अवज्ञा गरेका जनतासँगका मौन र वाचाल सम्झौता अहिले फटाफट बाहिर आउन थालेका छन् । यो नागरिक आन्दोलनको आरम्भ सरल, दृढ र सिर्जनशील देखियो । एक जना युवा पुस्ताका लेखक युग पाठकले सानै स्केलमा यो आरम्भ गरे । यी युग पाठकले लेखेको उपन्यास ‘उर्गेनको घोडा’ को कलेवर जनताको जीवन, मिथक, यथार्थ र संघर्षले बनिएको छ ।
त्यो नागरिक आन्दोलनमा साहित्यकारहरू र नाट्यकर्मी आए । शुभ्र केश लिएर दुब्लो ज्यान तर तेज निस्सृत गर्ने खगेन्द्र संग्रौला आए । खगेन्द्र भाइलाई देख्ता फ्रान्सेली लेखक जँ पोल सार्त्रको सम्झना हुन्छ, मलाई । सार्त्रले फ्रान्समा उठेका कुनै पनि नागरिक आन्दोलनलाई नैतिक र दैहिक समर्थन दिन छोडेनन् । सन् १९६८ को फ्रेन्च क्रान्ति, त्यसको अघि र त्यसपछिका सबै आन्दोलनमा तिनको सहभागिता थियो । पछि उमेर र स्वास्थ्यको कारणले अलिक गलेपछि उनकी आजीवन मित्राणी सिमो द बुभ्वाले उनको सक्रियतालाई लिएर, पुग्यो नि, आराम गर्ने होइन अब ? भनेको संस्मरणलाई चिन्ताको रूपमा राखेकी छन् । खगेन्द्र भाइको कथा त्यस्तै हो । यो नागरिक आन्दोलनमा पल्पसा क्याफे उपन्यासका लेखक नारायण वाग्ले सुरुमै निस्के । प्रचण्ड–नेपालहरूको सभामा गएर हिंसाका कुरा नगर, शान्ति र नागरिक शक्तिका कुरा गर भनेर गर्जे यी लम्बू ज्यानका लेखक । कविताबाट विद्रोह बोल्ने भूपाल राई आए । अर्का उपन्यासकार सञ्जीव उप्रेती आए । तिनको पछिल्लो उपन्यास हंस एकाध महिनापछि हुने सार्क लेखक सम्मेलनमा प्रस्तुत गर्ने सिलसिलामा अहिले पढिरहेको छु । रङ्गमञ्चका अग्रगामी निर्देशक घिमिरे युवराज आए । अरू निकै साहित्यकार, अभियन्ता र पत्रकारहरू छन् । यहाँ केही नाम मात्र लिएको हुँ । साहित्यकारबाट नागरिक आन्दोलन आरम्भ हुनुको अन्तर्यमा यसको सिर्जनशील पक्ष छ । यसपालिको नागरिक आन्दोलनको प्रकृति स्वतःस्फूर्त किसिमले दिनदिनै परिभाषित हुँदै गइरहेको छ । नेपाली अहिंसात्मक आन्दोलनका एकल संवाहक डा. गोविन्द केसी आए । यिनको विषयमा यही पत्रिका र ‘काठमाडौं पोस्ट’ मा धेरै लेखिसकेको छु, दोहोर्‍याउन चाहन्नँ । तर, डा. केसीको सन्देश प्रस्ट छ । आन्दोलनले ल्याएका उपलब्धिहरूको पालना भएन । सबै राजनीतिक दलका सरकारहरूले जनताको चाहना र समर्पणको दुरुपयोग गरे, अब त्यसको विरुद्ध लड्नुपर्छ भन्ने उनको सन्देश हो । मोहना अन्सारीले मानवअधिकारको उद्घोष गरिन् । प्राध्यापक कृष्ण खनालले माघ २२ मा सरकारले बाटैमा रोकेको नागरिक आन्दोलनको जुलुसमा नागरिक हुनुको अर्थ, त्यसको शाश्वतता र शक्तिको व्याख्या गर्दै भने, हामी राज्यले प्रमाणित गर्नुपर्ने नागरिक होइनौं । उनले अर्को महत्त्वपूर्ण कुरा थपे, राजनीतिको धेरै फोहोर थुप्रिएको छ, संसद् पुनःस्थापनाले मात्रै त्यो फोहोर सफा हुँदैन ।
अब केही राजनीतिक दलहरूसँग जोडिएका विषयको छलफल गर्नु सान्दर्भिक ठान्दछु । भुक्तमान भोगिबसेका जनताको वास्ता नगरी आन्तरिक झगडाको मात्र चिन्ता गरी बसेका अनि इतिहासको महत्त्वपूर्ण कालखण्ड नष्ट गरी आएका ठूलो दल नेकपाका नेताहरूबाटै तथाकथित ओली समूह र प्रचण्ड–नेपाल समूह जन्मे ।
अहिले नारायणहिटीको आँगनदेखि चौर, गल्लीर घुम्तीहरूमा तिनीहरूकै सभाहरू हुँदै छन् । नाट्यकर्मी युवराज घिमिरेलाई यो नाटकीय लागेको छ । यी दुईलाई मिलाउन अर्को समूह बनाएर लाग्ने काममा अर्का कामरेड वामदेव गौतम निस्के । अब त्यो ठूलो नेकपा दल त्रिकोणात्मक हुने बाटोमा छ । यस्तो बेलामा मैले सम्झिने कविता नै हो । कवि कुन्दन शर्माले एउटा वाचाल कविता लेखेकी छन्, निकै पहिले । मेरा कविताहरू (२०४५) नामको संग्रहमा प्रकाशित ‘ठूलो त्रिकोण––ईश्वर मरेको संसारमा’ शीर्षक शर्माको त्यो कविता सिङ्गै मेरो स्मृतिमा बल्झियो । कुन्दन शर्माको कविता बोल्छ ः ‘त्रिकोणको यो नाटक/ दुःखान्त अथवा सुखान्त हो?/ कोतिर हेरेर भनूँ म/ यहाँ तीनैथरी छन्’ । (१६) । मार्क्सको दुःखान्त र सुखान्तको कुरा यहाँ पनि दोहोर्‍याउँछौं । यो ईश्वर मरेको संसार कस्तो छ त्यो त्रिकोणमा ? गहिरिएर हेर्नुपर्छ । उन्नाइसौं शताब्दीको सामाजिक क्रान्तिलाई लिएरअठारौं ब्रुमेरमा मार्क्सले भने, ‘कविता विगतबाट होइन भविष्यबाट उघाएर ल्याउनुपर्छ’ । नेपाली राजनीतिमा अहिले आएको अवस्थाको कारण शासकीय दल र सरकारले जनताले दिएको मतबाट पाएको
संसद्लाई जनताको हित गर्ने ऊर्जावान कविताजस्तो रूपमा होइन, सोझो भौतिक फाइदाका निम्ति प्रयोग गरिने माध्यम ठाने । सबै ऊर्जा र सिर्जनाको स्रोत संसद्लाई बन्दी, शक्तिको माध्यम र पंगु बनाउने काममा कार्यकारीहरू लागे । अहिलेको समस्याको जरो त्यही हो । आन्दोलन कार्यकारीसँग गरिन्छ, तर तिनले दुरुपयोग गरेको सबभन्दा ठूलो ऊर्जा र शक्तिको स्रोत संसद्को मुक्ति त्यसमा नपर्न सक्छ ।
नेपाली कांग्रेस ठूलो विरोधी दल हो, अनि अर्को राजपा हो । नेपाली कांग्रेसको यो कमिनिस्टमय त्रिकोणात्मक संसारमा के भनाइ छ, के स्थान छ त अहिले ? नेपाली कांग्रेसकै नेता गुरुराज घिमिरेले पुस्तान्तरको चिन्तालाई लिएर यसरी लेखे, ‘कांग्रेसभित्रको युवापंक्ति एक प्रकारले बाल संन्यासीजस्तै किशोर वयमै राजनीतिमा लागेको उर्वर शक्ति हो । ...राज्य र पार्टीको भूमिकामा बस्नुलाई जागिर पाएझैं मात्र ठान्नु अराजनीतिक बुझाइ हो र कम्तीमा बीपी कोइरालाको पार्टीमा यो कसैलाई सुहाउँदैन’ । (नयाँ पत्रिका, २३ माघ, २०७७) । डा. बाबुराम भट्टराईले नागरिक समाजसहित सबैको संयुक्त आन्दोलनको आह्वान गरे । दलहरूको अहिले संयुक्त आन्दोलनमाथि विश्वास घटेर गएको देखियो । यो परिवर्तित मनस्थितिले धेरै कुरा भन्छ । अर्कोतिर जनताको राजनीतिक दलहरूसँगै मोह भंग हुने गति पनि तीव्र देखिएको छ । भोलि त्यसले ल्याउने समस्या झन् जटिल हुनेछ ।
यसपालिको नागरिक आन्दोलनमा स्वतन्त्र विचारक र विद्वान्हरूले छोटा भाषण, लामा अन्तर्वार्ता र लेखहरूद्वारा एउटा महत्त्वपूर्ण बहस अघि सारेका छन् । त्यो हो, नागरिक आन्दोलनको अलग र शाश्वत चरित्र बनाउने । ती भन्दै छन्, दलहरूका क्रियाकलाप र तिनले अपव्याख्या गरेको संविधानको मर्मले भन्छ, अबको नागरिक आन्दोलनले यी सबै कुरा सम्बोधन गर्नुपर्छ, तर सबभन्दा मुख्य कुरा यो एउटा जागरुक चेतनाको नाम हो जुन दलका नीति, तिनका आह्वानलाई लिएर मात्र चल्दैन । अनि यो नित्य चलिरहनुपर्छ ।
यस्ता सतत जागरुकता रहेनन् भने नागरिक अधिकार र लोकतान्त्रिक राज्यव्यवस्थामाथि प्रहार भइरहन्छन्, विचार विविध छन् तर मूल उद्देश्य एउटै छ भन्ने कुरा तिनका लेखमा आए । यस विषयमा मैले भाष्कर गौतम, आहुति, उज्ज्वल प्रसाईं, सञ्जीव उप्रेती, राजेन्द्र महर्जनका बहसहरू पढें । राष्ट्रिय सीमान्तकरणविरुद्ध अभियानका दुई युवा अभियन्ता सीएन थारू र आरके तामाङको नागरिक आन्दोलनले सीमान्तकरणको मुद्दालाई लिनुपर्छ भन्ने विचार पनि पढें । सबै पढ्दा र सुन्दा अग्रणी मार्क्सवादी साहित्य दार्शनिक फ्रेडरिक जेमिसनको इतिहासको ‘राजनीतिक अवचेतना’ सिद्धान्त सम्झें । नेपालमा विगतले पूरा नगरेका प्रतिज्ञा, सरकार र दलहरूले दिएका धोका भुक्तमान, सबै दमित विषय जुर्मुराएर यो नागरिक आन्दोलनका एजेन्डा हुन आउनेछन् । अहिलेको चुनौतीले विद्रोही तरंगहरू जन्माएका छन् । ती कति इतिहासबाट जन्मेका हुन्, कति समकालिक हुन् र शाश्वत हुन् यो नागरिक आन्दोलनले केलाउनेछ ।

Page 7
शनिबार विशेष

मन्दिर, तर हेर्ने सिनेमाको !

- वसन्त थापा

 

बम्बई सहरको केन्द्र भागमा मराठा मन्दिर नामको एउटा ख्यातनामा भवन छ । बम्बईबारे जानकार कसैले पनि मराठा मन्दिरको नाम नसुनेका होवोइन । धेरैजना त त्यहाँ गएका पनि हुन सक्छन् । नामले यसलाई मराठाहरू अथवा महाराष्ट्रका मूल निवासी मराठाहरूको मन्दिर या उपासना स्थल भन्ने जनाउँछ । तर, यो त्यस्तो खालको मन्दिर विल्कुल होइन । यदि यो मन्दिर हो भने फिल्मकलाको प्रदर्शन गरिने मन्दिर हो । अर्थात् यो फिल्म देखाइने सिनेमाघर हो, सिनेमाहल हो ।
धरानमा पनि यस्तै मन्दिर बन्यो ‘शिव सिनेमा हल’ को नाममा देशमा पहिलो आमनिर्वाचन भएको सालतिर वा त्यसको एक सालअघि । खुलेको साल यकिनसाथ भन्न नसके पनि चतरालाइनमा बनेको त्यस हलमा पहिलो प्रदर्शन गरिएको फिल्मको नाम भने मलाई याद छ र त्यो फिल्म मैले हेरेको पनि थिएँ । त्यो थियो ‘छु मन्तर’ जुन फिल्मका हिरो थिए जोनी वाकर, जो उसबेलाका कहलिएका जोकर या कमेडियन थिए । कुनै नामी हिरोको फिल्म प्रदर्शनबाट उद्घाटन नगरेर किन एक कमेडियनको फिल्मबाट हलको शुभारम्भ गरिएको थियो त्यो त थाहा भएन । एक–दुई वर्षअघि बनेको फिल्म सस्तोमा पाएर हलमालिकले त्यसो गरेको हुन सक्छ । फिल्म हल भन्नु के थियो धान चामल राख्ने एउटा गोदामजस्तो थियो— एक तले, ठूलो र लाम्चो । आधासरो इँटा र सिमेन्ट, आधासरो काठका बाकलबाट बनेको त्यस हलको छाना जस्तापाताका थिए । त्यसले गर्दा दर्के पानी परेको बेला टिनको छानाबाट आउने आवाजले हलभित्रको साउन्डलाई खाइदिन्थ्यो । भेन्टिलेसनको राम्रो बन्दोबस्त नभएकाले गर्मीमा दर्शकहरू उसिनेका अण्डाजस्ता हुन्थे । जे होस्, शिव सिनेमा आइदिएर धरान नगरका बासिन्दाको जीवनमा ठूलो बहार ल्याइदिएको थियो । नत्र सिनेमा हेर्नलाई धरानका हामीले कि त हिउँदको बेला पाल या तम्बु गाडेर चल्ने ‘टुरिङ टाकिज’ लाई पर्खनुपर्थ्यो वा फुस्रेमुन्तिर स्थापित इन्डियन ‘कोलोनी’ को विश्वकर्मा पूजा वा स्वतन्त्रता दिवसजस्ता अवसरलाई कुर्नुपर्थ्यो ।
भीमनगरमा बाँध या कोसी ब्यारेज निर्माण गर्ने सिलसिलामा भारत सरकारले धरानमा खडा गरेको आधारशिविर थियो ‘कोलोनी’ । त्यसलाई ‘इन्डियन कोलोनी’ पनि भनिन्थ्यो, तर छोटकरीमा त्यो ‘कोलोनी’ भनेरै चिनिन्थ्यो । भारतीय कर्मचारीहरू बस्नलाई एक तले आवासहरू बनाइएका थिए र प्रशासनिक कार्यालय भवनहरू पनि थिए त्यहाँ । त्यसबाहेक ट्र्याक्टर, बुलडोजर, ट्रिपर, ट्रक, लरी, डम्पर, जिप आदि अनेकथरीका वाहनहरूको ग्यारेज र मरम्मत केन्द्र पनि कोलोनीभित्र थियो । त्यसैले विश्वकर्मा पूजाले विशेष महत्त्व राख्थ्यो र त्यसलाई धुमधामसित मनाइन्थ्यो । यद्यपि भारतीय स्वतन्त्रता या गणतन्त्र दिवसमा पनि सानातिना कार्यक्रम हुन्थे । विश्वकर्मा पूजाको केही दिन अघिदेखि नै त्यहाँ चहलपहल हुन्थ्यो, रंगीबिरंगी ध्वजापताका टाँगिन्थे, पूजाको पन्डाल खडा गरिन्थ्यो, माइकमा हिन्दी फिल्मका गाना बजाइन्थ्यो । पूजाको दिन प्रसाद वितरण हुन्थ्यो र हाम्रा लागि सबभन्दा रमाइलो कुराचाहिँ पूजा भएको साँझ हिन्दी फिल्म पनि मुफतमा हेर्न पाइन्थ्यो । कुनै बेला तके भएर हो दुई–चार साँझ नै लगालग फिल्म देखाइन्थ्यो । फिल्महरू धेरैजसो ‘गणेश विवाह’, ‘हर हर महादेव’ जस्ता खालका वा भारतीय फिल्म डिभिजनद्वारा निर्मित स्वास्थ्य शिक्षासम्बन्धी सन्देशमूलक कार्टुनहरू र एज्रा मीरले बनाएका डकुमेन्ट्रीहरू हुन्थे । तर, भन्नु उसो होइन, मैले दिलीप कुमारको ‘देवदास’ त्यही कोलोनीमा हेरेको थिएँ ।
यसरी बिनाटिकट फिल्म हेर्न पाइने अर्को ठाउँ कोलोनी मास्तिर फुस्रेबजारको सिरानमा रहेको ब्रिटिस क्याम्प थियो । चारकोसे झाडी मुखैको घोपामा विशाल एरिया ओगटेर पक्की र स्थायी क्याम्प बनाउने काम अघि बढिरहेको थियो । त्यसनिम्ति फुस्रेमा अस्थायी क्याम्प खडा गरिएको थियो । अस्थायी भने पनि गोरा साहेब र तिनका परिवार तथा सैनिक–गैरसैनिक स्टाफ बस्ने आवासदेखि सानोतिनो अस्पताल र खेल मैदानसमेत क्याम्पभित्र बनेका थिए । बेला मौकामा, खासगरी गर्मी याममा खुला आकाशमुनि क्याम्पको हाताभित्रको सानो मैदानमा क्याम्पमा बस्ने गोरा साहब र तिनका परिवार तथा अन्य स्टाफका लागि बेलाबखत फिल्म देखाउने गरिन्थ्यो । फिल्म देखाइने दिन त पहिलेबाटै तोकिएको हुँदो हो । गोराका छोराले त्यसै त कहाँ गर्थे । तर, त्यसबारे हाम्रो टोलसम्म अर्थात् साबिकको माथ्लो छाता वा माथ्लो खहरे र हालको लक्ष्मी चोकसम्म खबर सधैं आइपुग्दैन थियो या ढिलो आइपुग्थ्यो जतिन्जेलमा फिल्म सुरु भइसकेको हुन्थ्यो । थाहा पाएको दिनमा भने सुझी न बुझी इङ्लिस फिल्म हेर्नलाई हामी धावा बोल्थ्यौं फुस्रेको ब्रिटिस क्याम्पमा । साहेब र मीमहरू काउच या कुर्सीमा बसेका हुन्थे । हामी स्थानीय र अनाहुत दर्शकहरू चाहिँ गेगरयुक्त मैदानमा थचक्क बस्थ्यौं । फिल्म हेर्ने क्रममा गोरा साहेब र मिमहरू कहिले हाँस्थे, कहिले खासखुस गर्थे, कहिले सुक्सुकाएजस्तो पनि गर्थे । हामीलाई भने माने त मतलब ! पर्दामा मान्छे चले पुग्यो ! तर, पर्दामा देखापर्ने सबै पुरुष उस्तै लाग्थे भने नारी पात्र पनि छुट्ट्याउन हामी असमर्थ थियौं । उनीहरूले बोलेका बुझ्नु त आकाशको फल भइहाल्यो । त्यो दिक्दारीलाई मेटाउन ढुंगाका ससाना गिर्खा प्रोजेक्टरले फ्याँकेको प्रकाशपथमा पर्नेगरी उफार्थ्यौं र पर्दामा त्यसको छायाँ देखेर दंग पर्थ्यौं । अनि हामी हल्ला र छुकछुक पनि बढ्तै गर्थ्यौं । यस्तै बदमासीले गर्दा होला पछि क्याम्प बाहिरकालाई त्यहाँ गएर फिल्म हेर्न पूर्ण निषेध गरियो । हामी उसबेलाका गँवार बासिन्दाहरूको पानी नपरेको जीउ र मैलो लुगामा गर्मीको बेला परेको पसिनाको मिश्रित गन्धले उनीहरूको घ्राणशक्तिलाई बढ्तै चुनौती दिएकाले पनि हुन सक्छ त्यो प्रतिबन्ध लागेको ।
सिनेमा हेर्ने अर्को सम्भावना भनेको विराटनगर गएको खण्डमा हुन्थ्यो । त्यहाँ हिमालय टाकिज धेरै वर्षअघिदेखि नै सञ्चालनमा रहेको थियो । तर, उसबखत विराटनगर भनेको अर्कै संसार, अर्कै विश्व र अर्कै दुनियाँ थियो धरानवासीका लागि । अहिले जसरी बसमा सरर डेढ–दुई घण्टामै पुग्न सकिने भए पो !
तर, मैले भने विराटनगरमा हिमालय टाकिजको ठूलो पर्दामा फिल्म हेरिसकेको थिएँ र सिनेमाको स्वाद चाखिसकेको थिएँ । धरानमा हाम्रो घरको खाँबा गाडिनुअघि हामी केही काल विराटनगरमा बसेका थियौं । मेरा बाले आमाको साथै ट्याउँ ट्याउँ बोल्ने मलाई धनकुटाबाट लिएर जानुभएको थियो । पछि उहाँले आफ्नो कान्छा भाइलाई पनि बोलाउनुभयो । नाताले काका भए पनि उमेरमा धेरै फरक नभएकाले हामी दुई साथीजस्ता थियौं र काकाभतिजा मिलेर सिनेमा पनि हेरेका थियौं । पान दोकान, चिया दोकान या अर्काको घरमा रेडियोमा बज्ने हिन्दी गीतहरू सुनेर तिनबारे म धेरै हदसम्म परिचित भइसकेको थिएँ । यसैले निजी रूपमा म अलिक बढ्तै पुलकित भएको थिएँ धरानमा सिनेमा हल बनेकोमा । मेरा दावलका अरूलाई पनि यस्तै अनुभूति भएको हुनुपर्छ । बिजुली नआएको ठाउँमा सिनेमाहल आउनु निकै ठूलो कुरा थियो । सुषुप्त र गतिहीन अवस्थामा रहेको नगरमा केही प्रगति भइरहेको आभास त्यसले दिएको थियो । त्यसबाट वयस्क र पाकाहरूलाई पनि खुसी नै लागेको हुनुपर्छ ।
सिनेमाको टिकटका लागि चाहिने पैसा जोरजाम गर्ने समस्या बेग्लै कुरा थियो । आफूभन्दा ठूलाको हात समातेर होस् या हुनेखाने घरका साथीहरूलाई उचालेर होस् या आमाको सानो खुत्रुके बट्टामा लुकीछिपी हात हालेर होस् सिनेमा हल पुगिहाल्ने । तीन आना, पाँच आना, नौ आना, बाह्र आना यस्तै थियो थर्ड क्लास, सेकेन्ड क्लास, फर्स्ट क्लास र स्पेसल क्लासको टिकटको दररेट । सोह्र आनाको एक रुपैयाँ हुन्थ्यो उसबेला ।
पर्दा नजिक सबभन्दा अगाडिका केही सिट लहरको खण्डलाई थर्ड क्लास भनिन्थ्यो । त्यहाँ दर्शकले अडेसो नभएको सपाट बेन्चमा खाँदाखाद गरेर बस्नुपर्थ्यो । पाँच आना टिकटको सेकेन्ड क्लासमा भने बेन्चमा अडेसो लागेको हुन्थ्यो र एउटा बेन्चमा पाँच जना बस्न सकिन्थ्यो । नौ आनाको फर्स्ट क्लासमा भने हथेलो भएका कुर्सी हुन्थे र तिनमा नम्बर पनि राखिएका हुन्थे । बाह्र आनाको स्पेसल क्लासका कुर्सीमा नम्बर लागेका हुन्थे र कुर्सीमा बस्नलाई र अडेस लगाउनलाई पातलो गद्दा पनि लागेको हुन्थ्यो । आफ्नो निजी हैसियत भने पर्दाको नजिक तीनआने बिनाअडेसोको बेन्चमा बसी ठाडो घाँटी लगाएर फिल्म हेर्ने थियो ।
यो फिल्म हेर्ने र यो नहेर्ने भनेर छानिरहने सुविधा नै थिएन, कम से कम मेरा लागि । फिल्म हेर्न पाए पुग्यो । भोकोलाई खान पाए पुगिहाल्छ, बासी भात–सासी भातको के मतलब ? पैसाले गर्दा नै मन लागेको फिल्म हेर्न नपाई फेरिन्थ्यो र त्यसको ठाउँमा अर्को आउँथ्यो । उसबेला फिल्म पनि धेरै दिन नटिक्ने । खुबै चले दस–बाह्र दिन चल्थ्यो र हप्ता नपुग्दै फेरिइहाल्ने । सरदर एक हप्ता हुँदो हो फिल्म चल्ने समय । फिल्म आउँथे बम्बईमा रिलिज भएको लगभग दुई वर्षपछाडि मात्र, दुनियाँ ठाउँको चक्कर लगाएर । उसबेलाको फिल्म वितरण प्रणालीको चक्र त्यस्तै हुँदो हो ।
फेरिएको फिल्मको बजारभरि पोस्टर टाँसिन्थे र जीपमा रोज माइकिङ गरिन्थ्यो । जिपबाट फिल्मको पर्चा पनि छरिन्थ्यो जसमा फिल्मका कलाकार, संगीतकार, गीतकार, निर्देशक आदिको नाम दिइएको हुन्थ्यो । साना भुराहरू ज्यान फालेर ती छरिएका पर्चा बटुल्न जिपको पछिपछि दौडन्थे । जिप कच्ची सडकमा धूलो र धूवाँ उडाउँदै अघि बढ्थ्यो । माइकमा उद्घोषकले भन्थ्यो, ‘दाजुभाइ तथा दिदी बहिनी, शिव सिनेमाको रुपौलो पर्दामा अपार भीडका साथ चलिरहेछ फलाना फलानाद्वारा अभिनीत फलाना फिल्म । मौका नगुमाउनोस्, फिल्म प्रदर्शन हुने समय दिउँसो ३ बजे र साँझ ६ बजे ।’ कहिलेकाहीँ उद्घोषकले फिल्मका हिरो हिरोइनको नामबाहेक संगीतकारको नाम पनि उल्लेख गर्थ्यो । किनभने त्यतिबेला सचिनदेव वर्मन, रवि, शंकर जयकिसन र ओपी नय्यरजस्ता संगीतकारको नाम फैलिसकेको थियो । खुला जिपको दुई साइडमा फिल्मको पोस्टर टाँसेको काठको ठूलो फ्रेम झुन्ड्याइएको हुन्थ्यो र जिपमा उभिएको उद्घोषक एक हातमा माइक समातेर नयाँ सिनेमा आएको सन्देश दिन्थ्यो ।
त्यस्तो सन्देशबाहक उद्घोषकको आफ्नै अदाकारी हुन्थ्यो र प्रस्तुतीकरणको शैली पनि आफ्नै । एक जना थिए बिफरले हल्का छाप छाडेको अनुहार र श्याम वर्णका महेश पलिखे नामका सिनेमा उद्घोषक । तिनी अक्सर छातीको माथिल्लो भाग देखिने गरी जानाजान टाँक खोलिएको आधा बाहुलाको सेतो रङको बुससर्टमा हुन्थे र माइकमा सिनेमाको खबर यसरी फैलाउँथे सबै काम छाडेर अहिल्यै सिनेमा हलतिर कुदौं जस्तो लाग्ने । आवाज पनि तिनको भरिलो र वजनदार थियो, मानिसले टाढैबाट तिनको स्वर चिन्ने । प्रस्तुतीकरणको आफ्नै मौलिक तरिका थियो तिनको । हामीलाई लाग्थ्यो, ती महेश दाइ क्या भाग्यमानी ! जिपमा सरर चढेर नगर परिक्रमा गर्न पाइने, दिनहुँ सिनेमा हेर्न पाइने र नगरवासी सबैले चिन्ने कस्तो काइदाको
नोकरी ! हाम्रा लागि ती लोकल अमिन सयानी थिए र एकप्रकारको रोल मोडल । तिनको यही आकर्षक अदाकारी र अल्फाजले धेरै अरूझैँ तानिएर घरको बार्दलीमा आउँथिन् चतरालाइनकी एउटी नवयौवना । तिनीसित महेश दाइका आँखा जुधे, उनीहरूबीच प्रीति बस्यो र कालान्तरमा उनीहरूको बिहे पनि भयो । मलाई लाग्छ, उनको यो प्रेमकहानी सारा धरान नगरलाई थाहा थियो ।
एक मिनेटको अन्तरालमा तीनपटक बिजुलीको घण्टी बजेपछि हलभित्रको बत्ती निभ्थ्यो र सिनेमा सुरु हुन्थ्यो । कोही बिनाटिकट बलजफ्ती भित्र नपसून् र हूलमूल नगरून् भनेर ढोकामा टिकट चेक गर्न प्रायः मुस्तैद व्यक्ति खटिएका हुन्थे ।
‘इन्टरभल’ अर्थात् मध्यान्तर भएको जानकारी दिन त्यस्तै घण्टी एकपटक बज्थ्यो । बाहिर जाँदा फेरि भित्र पस्नलाई गेटकिपरले हरेकलाई पास दिन्थ्यो । मध्यान्तरको समयमा मानिसहरू भित्रबाहिर गरिरहँदा चटपटेवालाहरूले ‘चना जोर गरम’ या ‘मुंगफली’ भनेर हलभित्र कराउँदै कागजको सोलीमा चटपटे वा बदम बेच्थे । त्यसरी चना र बदम बेच्नेले शिरमा पनि कागजकै टोपी लगाएका हुन्थे ।
मध्यान्तरको समयबाहेक अघिपछि पनि चलिरहेको फिल्म कहिलेकाहीँ हठात् रोकिन्थ्यो र हलमा बत्ती झलमल्ल बल्थे । त्यस्तोमा दर्शकहरू ‘रिल काट्यो’ भनेर कराउँथे । धेरैको भनाइमा फिल्म चलेको सुरुको एक–दुई दिनमा हेर्नु र फिल्म फेरिने बेला पछि हेर्नुमा फरक हुन्थ्यो । त्यतिन्जेलमा फिल्मको रिल काटेर धेरै छोटो पारिसकिएको हुन्थ्यो उनीहरूको भनाइमा । त्यसरी रील काट्नुपर्ने कारण मेरो समझदेखि बाहिरको कुरा थियो । तर, नभन्दै अरू समयमा घुम्दै जाँदा सिनेमाहलको प्रोजेक्टर रुम बाहिर फिल्मका लामाछोटा टुक्राटाक्री फालिएका भेट्थ्यौं, जसलाई हामी टिपेर ल्याउँथ्यौं के–के न फेला पारेजस्तो गरेर । त्यो देख्दा रिल काटिने कुरा साँचो हो कि जस्तो पनि लाग्थ्यो ।
अनि सिनेमा सकिएर बाहिर निस्कँदा सस्ता न्युजप्रिन्ट कागजमा चलिरहेको र पहिले चलेर गइसकेका फिल्मी गाना छापिएका पर्चा बेच्न ल्याउँथे । आधा आना पर्ने भए पनि त्यस्ता पर्चा सधैँ त किन्न सकिन्न थियो । तर, दुःखजिलो गरी किनेका त्यस्ता पर्चाहरूलाई म किताबहरू सँगै जतनसाथ राख्ने गर्थेँ ।
शिव सिनेमाहल खुलेको तीन या चार वर्षपछि धरानको रत्नरोडमा अर्को सिनेमाहल खुल्यो— गणेश टाकिज नामको । यी दुई सिनेमा हलका नाम शिव र गणेश राखिएको भए तापनि ती नाम भगवान्लाई समर्पित गरेर राखिएका थिएनन् । शिव सिनेमाका मालिक भूमिपति सेठ शिवप्रसाद आचार्य थिए, त्यसैले हलको नाम शिव राखिन गएको थियो । उता गणेश टाकिजका मालिक धनाढ्य व्यापारी लक्ष्मीप्रसाद श्रेष्ठले आफ्ना दिवंगत जेठा छोरा गणेशको सम्झनामा त्यो नाम राखेका थिए ।
ढाँचा र ढबमा यो नयाँ सिनेमा हल पुरानोभन्दा धेरै फरक थिएन । अंग्रेजीमा ‘इट्स डिफरेन्ट बट सेम’ (फरक तर उस्तै) भनेझैं उस्तै चारवटा क्लास, उस्तै कालो पर्दा झुन्डिएका चारवटा ढोका । सिट संख्या पनि उस्तै उस्तै— चार–पाँच सय । बेन्च र कुर्सीका स्तर पनि उस्तै । जनाना मर्दानाको दुर्गन्धित ‘पेसाबखाना’ उस्तै । सिनेमा सुरु हुने समयभन्दा आधा घण्टाअघि दर्शक आकर्षित गर्नलाई छानामा जोडिएको लाउडस्पिकरमा फिल्मको गीत बजाउने तरिका उस्तै । डेढ–दुई वर्षअगाडिका फिल्म ल्याउने चलन उस्तै । हलबाहिरको खुला ठाउँमा पान दोकान उस्तै । हो, नयाँ हलको बाहिरको बरन्डा अलिक फराकिलो र सुबिस्ताको थियो । त्यहाँ भित्तामा फलामको मसिनो जालीभित्रको फ्रेममा हाल चलिरहेको र आउनेवाला फिल्मका तस्बिरहरू प्रदर्शन गरिएका हुन्थे । मानिसहरू फिल्म नचलेको बेला बिहान या दिउँसो तिनै तस्बिरहरू हेर्नलाई पनि हलमा पुग्थे ।
उसबेला कुनै स्कुल खोल्नलाई भवन मात्र होइन विद्यार्थी खेल्नलाई भरसक फुटबल मैदानको ठाउँ समेत हुनुपर्छ भन्ने मान्यता थियो । धरान पब्लिक हाइस्कुल र भगवती मिडिल स्कुल (हाल माध्यमिक स्कुल) त्यसका उदाहरण हुन् । त्यसैगरी सिनेमा हललाई पनि प्रशस्त खुला ठाउँ (अहिलेको भाषामा भन्ने हो भने पार्किङ लट) आवश्यक हुन्छ भन्ने ठानिन्थ्यो । त्यसैले दुवै सिनेमाहल बाहिरको ठाउँ फराकिलो थियो । यद्यापि मोटरसाइकल त सारा धरान बजारमा रामकृष्ण डेन्टिस्टको एउटा भएको उसबेला निजी कार चढेर सिनेमा हेर्न आउने कोही थिएनन् ।
तर, त्यही खुलापनले गर्दा मानिसहरू अरू बेला पनि टहल्न वा मटरगस्ती
गर्न सिनेमाहलतिर पुग्थे, पान या चिया खान्थे, फिल्मको पोस्टर र तस्बिरहरू हेर्थे अनि फर्कन्थे ।
गणेश टाकिज खुलेपछि फिल्मको त बौछार नै भए जस्तो भयो । पहिले एउटा हल हुँदा महिनामा आउने तीन–चारवटा फिल्म भ्याउन त हम्मे थियो, अब त त्यो संख्या डबलिएको थियो । म पनि मिडिल स्कुलबाट हाईस्कुल पुगिसकेको हुनाले मेरो स्तर पनि पाँच आने क्लासतिर बढिसकेको थियो । समयभन्दा पनि पैसाकै अभावका कारण धेरै फिल्मलाई मन मारेर नहेरीकनै जान दिनुबाहेक अर्को उपाय थिएन । दुइटा हल भएपछि यो या त्यो कुन हेर्ने भनेर छान्न पाउने मौका भने मिलेको थियो ।
उसबेला धरानका लाइब्रेरीमा बनारसबाट छापिने हिन्दीको दैनिक खबरकागज ‘आज’ आउने गर्थ्यो । त्यसबाहेक ‘फिल्मी दुनियाँ’, ‘रंगभूमि’ (र पछिपछि ‘सुषमा’) भन्ने हिन्दी भाषाका सिनेपत्रिका पनि आउँथे, जसको माध्यमबाट नयाँ–नयाँ फिल्म र फिल्मी सिताराहरूबारे जानकारी मिल्थ्यो । ‘धर्मयुग’ र ‘साप्ताहिक हिन्दुस्थान’ गम्भीर खालका पत्रिकाहरू थिए, तर तिनले पनि फिल्मबारेका लेख र तस्बिरहरू छासछुस् छाप्ने गर्थे । ती हिन्दी पत्रिकाहरूले सिनेमाको मेरो भोकलाई झनै जगाइदिन्थे । हलमा पुराना फिल्महरू चले पनि रेडियो सिलोनको ‘आप ही के गीत’ को फर्माइस कार्यक्रम र अमिन सयानीले चलाउने ‘बिनाका गीतमाला’ को माध्यमबाट नयाँ–नयाँ फिल्म र तिनका गीतहरूबारे जानकारी हुन्थ्यो । सिनेमाको डाइलग सुन्दा–सुन्दा हिन्दी पढ्न र बुझ्नलाई केही गाह्रो थिएन । उसबेला फिल्ममा प्रयुक्त हिन्दी भाषामा उर्दूको प्रभाव बढी थियो— गानामा पनि डायलगमा पनि । त्यसले गर्दा देवनागरीमा लेखिएको उर्दूको व्यावहारिक ज्ञान पनि मिलिसकेको थियो ।
एसएलसी परीक्षा दिने बेलासम्ममा आफूलाई मन पर्ने, नपर्ने हिरो–हिरोइन मात्र होइन, कथानक वा विषयवस्तुको पनि छ्यानब्यान गर्ने थोरबहुत बुद्धि ममा पलाइसकेको थियो । मन नपर्ने सिनेमा जानाजान नहेर्ने र मन पर्नेचाहिँ जसरी पनि हेर्ने अनि फिल्मका कलाकारबाहेक त्यसका संगीतकार, गीतकार र निर्देशकका नाम र काम चिन्ने अकिल पनि एक प्रकारले ममा आइसकेको थियो । गायक गायिकाको स्वर खुट्याउने क्षमता पनि विकसित भइसकेको थियो । फिल्मका मन पर्ने गीतहरू त पूरै कण्ठाग्र हुन्थे । उसबेला सिनेमाको कथा, डायलग, गीत, पात्रहरूको चरित्र पनि चिरकालसम्म मनमा गढिरहन्थ्यो ।
सिनेमा हेर्न जानु उसबेलाको सामाजिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा बनेको थियो । कुनै खुसियाली मनाउन पर्‍यो या कुनै रमाइलो गर्न पर्‍यो, सिनेमा हेर्न गयो । जाँचमा पास भयो, सिनेमा गयो । साथीभाइलाई ‘ट्रिट’ गर्न पर्‍यो, सिनेमा हेर्न लग्यो । कसैलाई फकाउन वा फुल्याउन पर्‍यो, सिनेमा देखाउने लोभ दियो । कसैलाई भेट्न पर्‍यो, सिनेमाहलमा गयो । शनिबारको ‘म्याटिनी सो’ त चिनेजानेका धेरै जना भेटिने थलो नै हुन्थ्यो । कुनै समारोहमा गएजस्तो हुन्थ्यो सिनेमा हेर्न जाने काम । मानिसहरू सकेसम्म राम्रो परिधानमा ठाँटिएर हलमा आउँथे ।
म्याट्रिक पास गरेर मैले धरान महेन्द्र कलेजको प्रांगणमा कदम के राखें सिनेमा हेर्ने सम्भावनाको अर्को नयाँ ढोका खुल्यो मेरा लागि । भयो के भने आईए क्लासमा मसँगै भर्ना भएर खरसाङका मेरै दाँवलका एक जना विद्यार्थी मेरो बेन्चमा बस्न आइपुग्यो । ऊसित मेरो दोस्ती गाँसिन धेरै समय लागेन । ऊ ब्रिटिस घोपा क्याम्पभित्र बस्थ्यो, त्यहाँको ‘सिभिल लाइन’ मा । उसको पिता क्याम्पमा नोकरी गर्ने बाबुजी वा क्लर्क थिए । उसको साथ लागेर अब म घोपा क्याम्प जान लागें— घुम्न, हल्लिन र रमिता गर्न ।
घोपाको ब्रिटिस क्याम्प सबैथोकले भरिपूर्ण आफैंमा एउटा पूर्ण संसार थियो । पानी र बिजुलीको आफ्नै स्रोत, आफ्नै अस्पताल, आफ्नै पाले पहरा र सुरक्षा, फुटबल मैदान नै तीनवटा, आफ्नै चर्च र मन्दिर, किनमेल गर्ने पल्टनबजार, आफ्नै हुलाक र बैंक, फोहोर र मलमूत्र तह लगाउने आफ्नै प्रणाली, आफ्नै स्कुल, बास्केटबल, भलिबल अनि टेनिस कोर्ट, आफ्नै गेस्टहाउस, बदमासलाई सजाय दिने आफ्नै क्वाटर गार्ड, स्विमिङ पुल, अफिसर्स मेस र सिभिलियन क्लब, आफ्नै ड्युटी फ्री दोकान इत्यादि त्यहाँभित्र थिए । त्यसबाहेक त्यहाँ प्रत्येक हप्ता सिनेमा पनि देखाइन्थ्यो, त्यहाँका सिभिलियन स्टाफ र तिनका परिवारका लागि भनेर । सिनेमा हेर्न टिकट लाग्दैन थियो, तर त्यसका लागि क्याम्पभित्रै बस्ने मानिस हुनुपर्थ्यो वा उसको पाहुना । म मेरो साथीको परिवारको पाहुना बनेर त्यहाँ सिनेमा हेर्न जान थालें ।
आउँदो महिना देखाइने फिल्मको नाम, कलाकार र कुन किसिमको फिल्म हो त्यो खुलाएर समय र तिथिमितिसहितको लिस्ट एक महिनाअगाडि नै क्याम्पवासीहरूलाई उपलब्ध गराइन्थ्यो । त्यसको पीर एउटै थियो— सिनेमा देखाइने साँझ क्याम्पभित्र छिर्न खोजे मूल गेटमा गार्ड बस्ने मामाहरूले रोक्थे । उनीहरूले ‘जान सक्तैन’ भनेपछि सकियो । उनीहरूलाई थाहा थियो, साँझको बखत त्यसरी हूल बाँधेर आउने तरुना तन्देरीहरू क्याम्पभित्रका बासिन्दा होइनन् सिनेमा हेर्नलाई आएका हुन् भनेर । त्यसरी सुरक्षा गार्डहरूबाट रोकिएर उल्टै खुट्टा फर्कन नपरोस् भनेर म बेलुकाको भात माया मार्दै क्याम्पभित्र दिउँसै पस्थें र साथीहरूसित समय कटाउँथे । मेरो साथीले त्यहाँ बस्ने अरूसित पनि चिनजान गराएको थियो र यसप्रकार चिनारुहरूको सर्कल फराकिलो हुँदै गएको थियो । त्यसैले मलाई समय कटाउन कुनै समस्या थिएन ।
त्यहाँ देखाइने सबै फिल्महरू यतिन्जेल मैले हेर्दै आएको हिन्दी सिनेमाभन्दा बेग्लै थिए, त्यसको दुनियाँ नै अर्को थियो । अंग्रेजी भाषाका भएकाले मात्र होइन विषय, कथावस्तु, प्रस्तुति, प्रविधि हरेक कुराले ती फरक थिए र उम्दा पनि थिए । त्यतिन्जेल ब्लाक एन्ड ह्वाइटको युग पनि लगभग समाप्त भइसहेको थियो । गीत, संगीत र नृत्यप्रधान थिए हिन्दी फिल्महरू । नायक नायिकको भूमिका एउटा खास साँचोमा ढालिएका हुन्थे । नायक आदर्शवान् र सद्गुणी हुन्थ्यो, धिरोदात्त नायकका यावत् गुणहरूले युक्त । ऊ अन्याय र अत्याचारका विरुद्ध लड्थ्यो र असहाय, कमजोर एवं अबलाको रक्षा गर्थ्यो । उता नायिका एउटी आदर्श नारीका गुणहरूले युक्त हुनुपर्थ्यो, हर्ष विशादमा गीत गाएर आफ्नो मनको बह पोख्ने । फेरि सन् १९५० को दशक भनेको जवाहरलाल नेहरूको समाजवादी बयार चलेको बेला थियो । त्यस बयारबाट उसबेला बनेका फिल्महरू पनि अछुता थिएनन् । त्यसैले धेरैजसो फिल्ममा नयाँ संसार निर्माण गर्ने सन्देश हुन्थे । अमीर र गरिब, मिलमालिक र मजदुर, जमिनदार र किसानबीचको संघर्ष अनि असल र खराबबीचको द्वन्द्व देखाइन्थ्यो, जहाँ अन्त्यमा असलको जित हुन्थ्यो ।
यता इङ्लिस फिल्महरूको कुरै अर्को थियो । ड्रामा, वार, वेस्टर्न, स्पाई थ्रिलर, क्राइम एन्ड सस्पेन्स, हिस्टोरिकल, हरर, साइफाई यी अनेक विधा वा ‘जनर’का फिल्महरू आउँथे घोपा क्याम्पमा । फोटोग्राफी, म्युजिक, अभिनयको क्लास नै छुट्टै । देखाइएका हरेक कुरा वास्तविक लाग्ने । सुरुसुरुमा सिनेमाका पात्रहरूले बोल्ने अंग्रेजीको छेउटुप्पो बुझ्दिनथें । अभिनेता अभिनेत्रीहरूको अनुहार छुट्याउन पनि केही समय लाग्यो । तर, बिस्तारै रस भिज्न थाल्यो । ती फिल्मका माध्यमबाट सात समुद्रपारिका दुनियाँको सयर गर्न सकियो । बाइबलका अदभुत कथा र सेक्सपियरका नाटकका स्वाद पाइयो । हिटलर र मुसोलिनीका दुर्दान्त किस्सा थाहा भयो । सर्लक होम्स र जेम्स बोन्डको चिनारी मिल्यो । हलिउड र ब्रिटिस सिने संसारका महान् हस्तीहरूको कलाकारिता हेर्न पाइयो ।
त्यसो भन्दैमा मैले इंग्लिस फिल्महरूसित लहसिएर हिन्दी सिनेमा हेर्न चटक्कै बिर्सें भन्ने होइन । मेरा लागि हिन्दी सिनेमा ‘देशीय’ थिए भने इङ्लिस फिल्म ‘अन्तरदेशीय’ । सन् १९५० र ६० को दशकलाई हिन्दी फिल्मको स्वर्णयुग भन्ने गरिन्छ । उता हलिउडले पनि त्यसबेला आफ्नो कायामा गुणात्मक परिवर्तन गरिरहेको थियो । दुवै फिल्म संसारका आफ्नै स्वाद र मजा थिए अनि मैले कलेज जीवनको पाँच वर्ष पढाइको साथसाथै सिनेमन्दिरको उपासना र अर्चनामा बिताएँ ।
सिनेमाप्रतिको मेरो यस असीम लगावले म जुन नयाँ ठाउँमा गए पनि सिनेमा हेर्नु मेरो प्राथमिकता हुन्थ्यो । सानो गाउँ र कस्बादेखि ठूला सहरहरूमा मैले नबिराई हलमा गएर सिनेमा हेरेको छु । एकै दिनमा तीन तीनवटा फिल्म हेरी भ्याएको छु, त्यो पनि गोरखपुरमा र आजभन्दा ५० वर्षअघि ।
अंग्रेजीमा भनिने मेरा ‘फर्म्याटिभ इयर्स’ मा सिनेमाले मेरो मनमस्तिष्कमा के प्रभाव पार्‍यो र मेरो जीवन दर्शनमा के परिवर्तन ल्यायो त्यो म किटेर भन्न सक्तिनँ । तर, एउटा कविले जसरी काव्यात्मक ढाँचामा भन्ने हो सायद सिनेमाले सपना देख्न सिकायो । त्यसमा रंग र संगीत भर्न सिकायो । जीवन र जगत्लाई हेर्ने एउटा दृष्टि दिलायो । जीवनलाई आफ्नै सर्त बाँच्ने बाटो देखायो । नशा पो हो कि जस्तो मलाई लागेको थियो सिनेमा हेर्ने आफ्नो बानी आफैंलाई । किनभने धेरै जना सिनेमाप्रतिको मेरो अनुराग देखेर नाक खुम्च्याउँथे र मेरो खिसीट्युरी गर्थे । क्रान्तिकारी र प्रगतिशील भनाउँदाहरूको दृष्टिमा त यो हेयपूर्ण क्रियाकलाप थियो । यसै पनि हिन्दी फिल्म उनीहरूका लागि भारतीय विस्तारवादको औजार थियो । तर, सन् १९७३ तिर म ‘समीक्षा’ साप्ताहिकमा काम गर्दा मदनमणि मास्टरसाबले ‘एउटा राम्रो फिल्म हेर्नु भनेको राम्रो पुस्तक पढ्नुजस्तै हो’ भनेको सुनेदेखि बल्ल लाग्यो सिनेमा हेरेर मैले गलत काम गरेको रहेनछु । मास्टरसाब आफैं फिल्मको भोगी हुनुहुन्थ्यो । उहाँको भनाइलाई मान्ने हो भने कागतमा छापिएको भन्दा पर्दाको पुस्तक मैले धेरै पढेको छु सायद ।
सन् १९८० को दशकमा भिडियोको प्रादुर्भाव भएपछि सिनेमा हलले महत्त्व गुमायो । एकताकाको मन्दिरमा उपासकहरू जान छाडे । समयको चक्रले फेरि तानेर दर्शकलाई सिनेमा हलमा फर्कायो । तर, अहिलेका ‘मल्टिप्लेक्स’ मा सिनेमा हेर्दा पहिलेको जस्तो मज्जा र रोमाञ्च कहाँ ?
संयोग भनौं या प्रारब्धको खेल । बितेका बीस–बाइस वर्षदेखि म काठमान्डु इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभलको आयोजनासित जोडिँदै आएको छु । पछाडि फर्केर हेर्दा लाग्छ, सिनेमन्दिर जाने त्यही पुरानो बानीले पो मलाई यस कामसित यस प्रकार अहिलेसम्म जोडिराखेको हो कि !

शनिबार विशेष

बलात्कार

- कल्पना चिलुवाल


आमाले पकाइदिएको खाना
दिदीले धोइदिएको लुगा
बहिनीले तिहारमा लगाइदिएको मखमली फूल
प्रेमिकाले दिएको प्रेमको चिनो
सबलाई रछ्यानमा मिल्काएर
घरबाट निर्वस्त्र निस्किएको छ बलात्कारी
सिंगो महिला जातिमाथि एकमुष्ट बलात्कार गर्न


सुनसान स्थानमा
कुनै बेनाम स्त्रीमाथि बलात्कार भइरहादा
ऊसागै बलात्कृत भइरहेकी हुन्छे
नवजात सन्तानलाई
स्तनपान गराइरहेकी सुत्केरी आमा
माइतीको सलामतीको प्रार्थना गरिरहेकी दिदी
तिहारमा माला उनिरहेकी बहिनी
प्रेम उपहार सजाउादै गरेकी प्रेमिका
ताजा वरमाला हेरिरहेकी नवदुलही


निर्जन स्थलमा
कुनै अज्ञात युवतीमाथि बलात्कार भइरहादा
ऊसागै बलात्कृत हुन्छन्
चकलेट चुसिरहेकी अबोध बालिका
लोककथा सुनाइरहेकी हजुरआमा
पाठ पढाइरहेकी शिक्षिका
वकालत गरिरहेकी वकिल
बिरामी जााचिरहेकी डाक्टर
देशको सर्वोच्च स्थानमा रहेकी
राष्ट्रपति


धर्मशास्त्रले पढाएको पापको डर
देशको कानुन
मान्छे हुनुको नैतिकता
सबलाई डम्पिङसाइटमा मिल्काएर
निर्वस्त्र निस्केको छ बलात्कारी
सिंगो महिला जातिमाथि एकमुष्ट बलात्कार गर्न


कुनै एकान्त ठाउामा
कुनै एउटी महिला बलात्कार भइरहादा
एकसाथ बलात्कृत भइरहेका हुन्छन्
संसारका सारा महिला
जसमा ऊ पनि पर्छे
स्वयं बलात्कारीकी
आफ्नै निर्दोष आमा ।

Page 8
शनिबार विशेष

नयाँ उपन्यासकारको बकपत्र

हरेक मान्छेमा विषय छन्, हरेक ठाउँमा नलेखिएका सयौं उपन्यास छन्, हामीले फेर्ने हरेक श्वाससँगै कथाहरू जन्मँदै–मर्दै गरिरहेका छन् ।
- पदम गौतम

 

मैले अलिअलि थाहा पाउँदाको मेरो गाउँको परिवेश निकै फरक थियो । त्यसबेला सामान्य लागे पनि अहिले सम्झँदा त्यो अवस्था अनौठो लाग्छ । मैले मेरो पहिलो आख्यानमा गाउँको त्यही पुरानो
अवस्थाबाट बिषय उठान गर्ने निर्णय केही वर्षपहिले नै गरेको थिएँ ।
गीताको एउटा श्लोक र त्यसको सार धेरै वर्षअघिदेखि कण्ठ थियो–
अमन्त्रं अक्षरं नास्ति, नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।
अर्थात् मन्त्र सुरु नहुने अक्षर हुँदैन, औषधि नबन्ने जरो हुँदैन, योग्यता नभएको कुनै मान्छे हुँदैन, यो संसारमा केवल ती क्षमताको प्रयोग गर्ने व्यक्तिको मात्र कमी छ । लागिरहन्थ्यो— हरेक मान्छेमा उपन्यासका विषय छन्, हरेक ठाउँमा नलेखिएका सयौं उपन्यास छन्, हामीले फेर्ने हरेक श्वाससँगै कथाहरू जन्मदै–मर्दै गरिरहेका छन् । र, मैले पनि मेरो गाउँको परिवेश र त्यस समय गाउँवासीलाई देखाइएका सपनाको चित्र उपन्यासमा ल्याउनुथियो । हालै प्रकाशित मेरो उपन्यास ‘विश्रामपुर’ को रचना सन्दर्भ सम्झँदा मेरो तत्कालीन मानसिकता मैले स्मरण गरेको हुँ ।
‘विश्रामपुर’ लेखनको समय मेरा लागि सजिलो थिएन । अहिले सम्झँदा लाग्छ, जीवनमा हिँडेका अप्ठ्यारा बाटा र भोगेका जटिल विषयले अत्याससँगै ऊर्जा पनि दिइरहने रहेछन् । कोरोना सुरु भएको बेला हामी दम्पती स्पेननजिकै रहेको पोर्चुगलको आल्बुफेरा सहरमा थियौं । चीनबाट सुरु भएको कोरोना इटाली, फ्रान्स हुँदै नजिकै स्पेन आइपुग्यो । के गर्ने र कसरी सुरक्षित रहने भन्दाभन्दै हाम्रै शहरमा कोरोना छिर्‍यो । टुरिस्ट अपार्टमेन्टमा बस्ने हुनाले सहरमा थुनिएका विदेशी र तिनको सम्पर्कमा आउने मान्छेको सम्पर्कबाट बँच्न हामीलाई गाह्रो हुन थाल्यो । जति गाह्रो थियो, त्योभन्दा बढी हामी मानसिक रूपमा त्रसित थियौं । त्यससँगै पर्यटनमा आश्रित यो सहर केही महिनासम्म सुनसान हुने निश्चित थियो । यो अवस्थामा हामी त्यहाँ महँगो भाडा तिरिरहन सक्ने अवस्थामा पनि थिएनौं । कोरोनाले बाँच्न सकिएला तर त्यसको असरबाट बाँच्न सकिँदैन भन्नेमा हामी पक्का थियौं । त्यसैले हामी हतार हतारमै छिमेकी जिल्ला बेजाको एउटा दुर्गम गाउँमा, सुरक्षित र सस्तो ठाउँमा सर्‍यौं । 
त्यो दुर्गम गाउँमा वाईफाई थिएन, लकडाउन पूरै खुलेपछि मात्र जोडिने जवाफ सेवाप्रदायक कम्पनीले दियो । अब त्यहाँ बसुन्जेल अल्छी मान्दै चल्ने नेट सिमले निकै गाह्रो गरेर काम चलाउनुपर्ने भयो । साथमा भएका करिब एक दर्जन किताब दोहोर्‍याएर पढ्नु, केही फिल्म हेर्नु, नेपाली किताबको अडियो सुन्नु र कोरोनाबारे दिनमा करिब दर्जनपटक अपडेट हुनु हाम्रो दिनचर्या बन्यो । जैतुनका जंगलले ढाकेको त्यो सानो पहाडी बस्तीमा काम गर्ने त परको कुरा घुम्न निस्कनका लागि पनि प्रशस्त ठाउँ थिएन । हामीजस्ता आप्रवासी त नदेखिने नै, स्थानीय बासिन्दा पनि घरबाहिर ननिस्कने । त्यो अनकण्टार गाउँमा हामी दम्पती समय कटाउन कहिले नाच्थ्यौं, कहिले गाउँथ्यौं र रमाउँदै बिताउँथ्यौं । त्यस ठाउँमा सरेको केही दिनमा नेपालमा साहिँला बुबा बित्नुभयो । पीडामाथि पीडा थप भनेजस्तो मन रोइरह्यो । तैपनि कोरोनाकालमा योभन्दा सुरक्षित अर्को ठाउँ भेट्न पनि गाह्रो हुन्थ्यो ।
‘हामी डिप्रेसनमा त जाँदैनौं होला नि, बूढी ?’
‘कहाँ त्यसो भनेर हुन्छ बूढा ? सुख पछि फेरि खोजौंला, अहिले जीवनसँग खुसी हुन सिक्नुपर्छ,’ रेनुकाले भनिन् ।
हामी त्यही अवस्थामा खुसी खोज्न बाध्य थियौं । नेपाली, हिन्दी, स्पेनी र पुर्तगाली भाषाका मन परेका गीत सुन्दै नाच्नका लागि पनि समय छुट्यायौं । शरीर र दिमाग दुवैलाई यसले फाइदा नै गर्‍यो ।
म तीसको दशकको सुरुमा भोजपुरमा जन्मिएँ । त्यसको केही महिनामै मेरो परिवार मधेस बसाइँ सर्‍यो । म पनि थुन्से या डोकामा बोकेर धानको भात खाँदै सुख पाउने लालसामा मधेस झारिएँ । मधेसको पनि निकै दख्खिनतिर पर्ने हुलाकी राजमार्ग नजिकैको अनकन्टार जंगलको एउटा छेउमा पुगेर मेरा बाबु–बाजेले भारी बिसाएका थिए । त्यहाँ पाका उमेरका सयौं मान्छेले सखुवाको झोडा फाँडेर धमाधम बस्ती बनाउँदा गरेको संघर्ष अहिले म सपनाजस्तै धमीलो सम्झन्छु । त्यो दुर्गम र निर्जन गाउँको स्मृति मनमा गजबसँग गढेर बसेको थियो । त्यहाँको पुरानो परिवेशमा लेख्नलायक कथा आफैंमा धेरै थिए र छन् । भिन्न जाति र संस्कृति बोकेका पहाडका धेरै जातका मान्छे आ–आफ्नो विरासत बोकेर मधेस झरेका थिए । मधेसमा लगभग अमेजन जंगलका अनौठा मान्छेको सभ्यताजस्तै सरकारलाई वास्ता नै नभएका अनेक जाति, भाषा र धर्मको अस्तित्व विद्यमान थियो । हो, त्यही संगममा बनेको मिश्रित संस्कृति र संस्कार भएको ठाउँमा म हुर्किएँ । यस अर्थमा आफूलाई भाग्यमानी सम्झन्छु, मबिना मिहिनेत फरकफरक धर्म, भाषा, संस्कृति र परिवेश नियाल्दै हुर्किरहेको थिएँ ।  
आजभन्दा करिब चार दशकअघिका त्यहाँका मान्छेका पीडा, सपना र त्यहाँको प्राकृतिक सम्पदाजस्ता धेरै कुराको अहिले स्मरण हुन्छ । कोरोनाका कारण भएको लकडाउन सुरु हुँदा मन बहलाउन मैले पुराना गीत सम्झँदै गुन्गुनाउन थालेको थिएँ । त्यही क्रममा मैथिली, भोजपुरी र सन्थाल भाषाका गीत र बाल्यकालमै मेरो मुखमा झुन्डिएका जनवादी गीत सम्झिएँ । जनवादी गीतको सम्झनासँगै वामपन्थीहरूले उहिले गरेको संघर्ष र तल्लो तहका जनताको बर्तमान अवस्था पनि सम्झिएँ । रेनुकाले भनिन्, ‘यति सम्झिएपछि अब पहिला लेख्न खोजेको उपन्यास अघि बढाउन सहयोग गर्छ नि !’ र, यसरी अफ्ठ्यारो वातावरणमा नै लेख्न थालेँ, देहातको करिब चार दशक यताको परिवेश समेट्ने उपन्यास विश्रामपुर ।      
किताब लेख्न थालेपछि मलाई बढी घोच्न थालेका विषय थिए— सुतेका मान्छेलाई जगाएर राजनीतिमार्फत देखाइएका सपना । उपन्यासमा एक हिसाबले मैले मेरो गाउँलाई नै नायक बनाउने प्रयास गरेँ । बिगतमा नायकका रूपमा स्थापित कतिपय मान्छेहरू अहिले खलनायक बनिसकेका थिए भने केही निरीह अवस्थामा थिए । जनतालाई सपना देखाएर त्यही सपनाको हत्या गर्नेहरूको विषयमा म केन्द्रित भइरहेँ । बर्मा, असम वा पहाडबाट झरेकाहरूको जीवनले संघर्षपछि थोरै गति लिँदै थियो । पुराना स्थानीयवासीहरू किनारातिर धकेलिँदै थिए । तिनीहरू शिक्षा र राज्य प्रशासनको सेवाको नेटवर्कभन्दा बाहिर थिए । आधुनिकता र विकासको मोडलले तिनीहरूलाई झन् बाहिर पार्दै गयो । उनीहरूको जीवनचक्रसँग जोडिएको जंगल र सिमसार थलो छोटो समयमा नै मासिए । अनेकतामा एकताको सूत्रमा लुकेको नदेखिँदो षड्यन्त्रले तिनीहरूलाई पर धकेलिरह्यो । हेर्दाहेर्दै तिनका हातबाट सबै गुमेको थियो, आफ्नै थातथलोमा कतै हराएजस्तो अवस्थामा पर्दै थिए तिनीहरू ।
यी सबै बिषय चित्रण गर्दै गाउँमा भएका शोषणका कथाको मूल जड पनि लेख्नैपर्ने भयो । त्यसरी लेख्दा केन्द्रमा राजनीति नै आउँथ्यो, आयो । देहातको सामाजिक चित्रण मुख्य उद्देश्य बनाएर सुरु भएको उपन्यास राजनीतिक परिवेशलाई पनि चित्रण गर्दै अघि बढाउनुपर्ने भयो । आखिर जनताको ढाडका करङ टेकेर माथि पुगेपछि जमिन बिर्सनेहरूको भण्डाफोर हरेक सचेत लेखकले गर्नैपर्ने हुन्छ । मुलुकको राजनीतिका विषयमा थोरै मात्र पनि सचेत मान्छेले यसमा विमति जनाउनुपर्ने कारण म देख्दिनँ पनि ।
गाउँ सरेको दुई महिनापछि लेखनले बल्ल गति लिएको थियो । ट्वीटरमा फेला परेका साथीभाइले बिर्सिंदै गएका पुराना स्थानीय भाषाका गीत सम्झन थप सहयोग गरे । ती गीतले जनमतसंग्रहको समयमा झोडा फाँडिएपछिको देहातको तत्कालीन आर्थिक, सामाजिक परिवेश सम्झन मद्दत गर्‍यो । मस्तिस्कको भित्री तहमा बसेका सन्दर्भ फेरि चित्र बनेर आउन थाले, म लेख्दै गएँ । म किशोरावस्थासम्म गाउँ बस्दा कामचलाउ हिसाबले त्यहाँका विभिन्न स्थानीय भाषा बोल्ने गर्थें । गाउँ छाडेको तीन दशकभन्दा बढी भएका कारण मैले ती भाषा बिर्संदै गएको थिएँ । सञ्जालमा फेला परेका साथीहरूबाट उपन्यासमा प्रयोग गरिएका ती विभिन्न भाषाका केही शब्द ‘भेरिफाई’ गर्न सजिलो भयो । केही भोगेका, केही देखेका, केही सुनेका र थोरै कल्पनाको मिश्रणले किताबले आकार लिँदै गयो । कतिपय पात्र र परिवेश ल्याउन विम्ब–प्रतीकको सहारा लिनुपरे पनि भएकै र हुने गरेकै घटनाले गाउँको चित्रणलाई जीवन्त बनाए ।
पहाडे बस्ती सुरु हुँदाको समयका स्थानीय मान्छेको अवस्था हेर्दा लाग्थ्यो, यी पुराना मान्छेहरू केवल जनगणनामा सामेल हुन जन्मेका हुन् । अझ, त्यस गाउँका सबै सम्प्रदायका दलित, महिला र गरिबहरू मान्छे नै होइनन्जस्तो अवस्था थियो । मैले यिनै परिवेश र त्यसबाट थोरै माथि उठ्ने चेतनाका प्रयासलाई उपन्यासमा उतार्ने चेष्टा गरेँ । अहिले देश र जनतामाथि जति गद्दारी गरे पनि त्यो प्रयासमा वाम आन्दोलनको ठूलो भूमिका थियो । त्यसका धेरै पाटा आख्यानमार्फत ल्याउनु नै थियो ।
आफूले देखेको र भोगेका विषयमा लेख्नका लागि खासै अनुसन्धान गर्नु नपर्ने भएका कारण लेखन सजिलो भयो । धेरैपटक उपन्यास लेख्ने भनेर थोरै लेख्दै थन्क्याउँदै गरेको थिएँ । अर्को कोणबाट हेर्दा म कविता लेख्ने कवि मान्छे, बिगतमा लामो समय अखबारमा फिचर लेख्ने र सम्पादन गर्ने काम गर्थेँ । यो कारणले उपन्यासका लागि उपयुक्त भाषा प्रयोग गर्दै अघि बढ्न मेरा लागि केही अप्ठ्यारो पनि थियो । खासमा म आफैं कुन स्तरको भाषामा यो किताब लेखिरहेको छु, विश्वस्त थिइनँ । केही साथीभाइको सुझाव लिएँ ।
किताबको अन्तिम एक च्याप्टर लेख्न बाँकी नै थियो, जहाँ वर्तमान राजनीतिको कुरूप र पीडक चरित्र नांगो पार्नका लागि म कल्पना गरिरहेको थिएँ, विम्बलाई मस्तिष्कमा खेलाइरहेको थिएँ । ०४७ पछिको तीन दशकको राजनीतिको ‘खलनायकी’ चरित्रका विषयलाई कसरी प्रस्तुत गर्ने भन्नेमा केन्द्रित थिएँ । यो अवधिको राजनीतिमा निर्णायक तत्त्व, चरित्र र तल्लो तहका जनताको स्तरबारे घोरिइरहेको थिएँ ।
‘विश्रामपुर’ उपन्यासको काम सकिने समयसम्म मैले धेरै विषयमा साथीहरूको प्रतिक्रिया या सुझाव पाएँ । यसले आगामी दिनमा पनि मेरो लेखनमा सहयोग गर्नेछ । तर, प्रगतिवादी साहित्य र ८० को दशकका हिन्दी फिल्मको हरेकपटक सत्य या न्यायकै जित देखाउनैपर्ने सार जबर्जस्ती निकाल्नचाहिँ मलाई मन लागेन । देहातका गाउँलेहरू अहिले पनि राज्य र त्यसका शासकीय षड्यन्त्र बुझेका मान्छेबाट पीडित नै छन् । हरेक ठाउँमा जनताको जितभन्दा पनि पीडा र संघर्षको लगातारको यथार्थ ल्याएर नै उपन्यास जीवन्त बन्छ भन्ने मलाई लाग्यो । राजनीति र विकासका नाममा भएका शोषण र दमनका उत्तरआधुनिक तरिका अबका हाम्रा लेखनमा ल्याउनुचाहिँ जरुरी देखिन्छ । 
यस्तै चेतना र अवस्थामा तयार भएको एउटा कवि र पूर्वपत्रकारको पहिलो आख्यान विश्रामपुरलाई पाठकले कसरी लिन्छन्, थाहा छैन । तर, आगामी दिनमा पनि निरन्तर यथार्थको नजिक रहेर लेखिरहनका लागि मलाई अहिलेसम्मका प्रतिक्रियाले ठूलो ऊर्जा दिएको छ ।

शनिबार विशेष

पीडाको पहाड

- सविता आचार्य

 

एक्कासि आमाको चीत्कार सुनें, ‘मार्‍यो नि बज्याले !’
यस्तो चीत्कार हरेक दिन सुन्छु, बिहान उठेदेखि साँझ ननिदाउन्जेल । हुन त कहिलेकाहीँ सपनामा पनि यस्तै चीत्कार सुन्छु । अनि झस्केर बिउँझिन्छु । डर लाग्छ, फेरि निदाउन सक्दिनँ । भोलि बिहान आमाको अनुहार देख्न पाउँछु कि पाउँदिनँजस्तो लाग्छ । बिहान डराई–डराई उठ्छु । कतै आमालाई केही भएको पो छ कि भन्दै । यसरी नै मेरा हरेक दिन र रात बित्छन् ।
आमाको त्यो चीत्कार सुन्दा मलाई असह्य हुन्छ । त्यसैले मलाई खाली मर्न मन लाग्छ । बाँचेर केही काम छैनजस्तो लाग्छ । साँच्चै हो, यो विचार मेरो हरेक दिन हरेक सेकेन्ड मेरो मनमा आइराख्छ ।
तपाईंलाई अचम्म लाग्यो होला है !
मलाई पनि तपाईंलाई जस्तै अचम्म लाग्छ । मेरो मनमा आउने विचार देखेर । दसौँपटक मर्छु भनेर कोसिस गरें । तर, हरेकपटक असफल भएँ । र, त तपाईंलाई आफ्नो कुरा सुनाउँदै छु अहिले ।
यति भनिसक्दा उनका आँखा आँसुले भरिइसकेका थिए । तर, उनी जबरजस्ती अनुहारमा हाँसो ल्याउने असफल प्रयत्न गर्दै थिइन्, जसरी उनी दसौंपटक आत्महत्याको असफल प्रयास गर्थिन् ।
सानो शारीरिक बनोट, चम्किला ठूला आँखा, सुलुत्त परेको नाक, धपक्क बलेको हँसिलो मुहार । तर, त्यही हँसिलो मुहारभित्र अनेकन् पीडाको पहाड । सबै पीडा बिर्सिन खोज्छिन् उनी । तर, पीडाले कहाँ पछ्याउन छोड्छ ? जहाँ जान्छिन् छाया बनेर सँगै आइदिन्छ ।
मनमा कुरा मेरो खेल्दै थियो । उनी त मसँग आफ्नो पीडा बिसाउँदै थिइन् आज ।
सामान्य परिवार छ मेरो, भएको थोरै जमिनमा आमा तरकारी रोप्नुहुन्थ्यो र त्यही तरकारी बेचेर दाल–चामल किन्नुहुन्थ्यो । अनि हामी तीन जनाको परिवार धानिन्थ्यो । धानिन्थ्यो त के भन्नु, अलि अलि खान पुग्थ्यो । कहिले पेटभर त कहिले आमाको आधा पेट भए पनि । हामी तीन जनाको पेट भर्नका लागि आमासँग कुनै जागिर थिएन, कुनै भरपर्दा पेसा–व्यवसाय थिएनन् । थियो त घरछेउमा थोरै जमिन । त्यही जमिनमा आमाले आफ्नो पसिना बगाउनुहुन्थ्यो । र, त हाम्रो पेट भरिन्थ्यो ।
सबैलाई जस्तै, बुबाबारे चासो लागेको होला तपाईंलाई ! मध्यरातमा ‘ऐया नि मार्‍यो !’ भनेर आमा चिच्याउने कारण बुबाले गर्ने कुटपिट हो !
बुबा ठेकदारसँग मिलेर घरनजिकैको इँटाभट्टामा काम गर्नु हुन्थ्यो । बुबाको काम सजिलो थियो, कमाइ पनि राम्रै थियो । इँटाभट्टाका साहु चिनेकै मान्छे थिए । त्यही भएर पनि होला बुबालाई सजिलो थियो काम गर्न । त्यहाँ दैनिक ज्याला लिएर काम गर्ने मान्छेहरूको लगत राख्ने काम हो उहाँको । त्योबाहेक अरू पनि काम छ उहाँको । नियमित रूपमा गर्ने काम । मन लगाएर गर्नुहुन्छ उहाँ । र, उहाँले त्यसरी मन लगाएर गर्ने काम भनेको, दिनभरि कमाएर ल्याएको पैसाले जाँड खाएर आमालाई कुट्ने पनि हो ।
आमालाई कुट्ने पनि बुबाको अर्को काम हो !
यति भनेर उनी धेरैबेर मौन रहिन् ।
म त्यतिबेला आठ कक्षामा पढ्थें, १३ वर्षकी थिएँ । पढ्थें त के भन्नु स्कुल जान्थें । रातदिनको किचलोले गर्दा म घरमा हुँदा एक शब्द पढ्न सक्दिनथें । सरले स्कुलमा दिने होमवर्क गर्न सक्दिनथें । अनि हरेक दिन स्कुलमा कुखुरा बन्थें । कतिपटक त कक्षा कोठाबाट निकालिएकी छु । साथीहरू सबै जना मेरो मजाक उडाउँथे । जँड्याहाको छोरी भन्थे सबैले मलाई । एक जना मिल्ने साथी थिई इशा । उसले मलाई बुझ्थी । तर, उसले मात्रै बुझेर के गर्नु कक्षामा भएका अरू ४३ जनाले एकमुख भएर मजाक उडाएपछि । साथीले मात्रै त्यस्तो भने त म कहिलेकाहीँ आफ्नो मन बुझाउँथें । तर, सर र म्याडमहरूले नै मलाई साथीको अगाडि तथानाम भन्नुहुन्थ्यो । हो त्यहीबेला मलाई मर्न मन लाग्थ्यो । मैले बाँचेर केही गर्न सक्दिनँ, मेरो जीवनको अर्थ छैन जस्तो लाग्थ्यो । अनि, मर्ने प्रयास गर्थें तर सक्दिनथें ।
एक दिन बुबा अलि सबेरै घर आउनुभयो, म आँगनमा बसेर पढ्दै थिएँ । मलाई बुबा चाँडै घर आएको अनि ठीकठाकै देखेर आमाले पिटाइ खानुनपर्ने भयो, सबै जना सँगै बसेर खाना खान पाइयो, यतिका दिन बुबालाई भन्न साँचेका कुरा भन्न पाउने भएँ भनेर एकदमै खुसी लाग्यो ।
‘बुबा, पानी खानुहुन्छ ?’ मैले सोध्न नपाउँदै, ‘तेरी आमा कुनचैँ नाठोसँग छे हँ ?’ भन्दै कराउन थाल्नुभयो । मलाई थाहा थियो, आमा साग बेच्न हाम्रो गाउँभन्दा अलि माथिको बजार जानुभएको थियो । तर, यो कुरा बुबाले पत्याउने सम्भावना शून्य थियो ।
सोचेकी थिएँ, आज त सबै ठीकठाक हुनेछ । मैले त्यति सोच्न नपाउँदै बुबा जङ्गिन सुरु गरिसक्नुभएको थियो । आमाको बारेमा तथानाम बोल्नथाल्नुभएको थियो । आमालाई सम्झेर मन अमिलो भयो । थाकेर आएकी मेरी आमाले कति कुटाइ खानुपर्ने हो ? ओहो ! म सोचेरै
इत्रिएँ ! मलाई भाउन्न छुट्लाजस्तो भयो । रिंगटा लाग्लाजस्तो हुन थाल्यो । रुँदै कोठामा गएँ । जब आमा साँझ आउनुभयो तब बुबाले आमालाई तथानाम कुट्न थाल्नुभयो । आमाले आफूलाई किन कुटिँदै छु भन्ने पनि थाहा पाउनुभएको थिएन । बुबा भएभरको शक्ति निकालेर आमालाई घरी लात्ताले घरी हातले त घरी जुत्ताले पिट्दै हुनुहुन्थ्यो । मैले आमालाई छुटाउन जति प्रयास गरे पनि सकिनँ । उल्टै बुबाले, ‘तँ पनि तेरी आमाभन्दा कम छैनस् !” भनेर मलाई हुत्याउनुभयो । म पछारिएँ । मलाई एकदमै निरीह, असहायजस्तो महसुस भइरहेको थियो । बुबाले आमालाई पिट्न छोड्नुभएको थिएन । आमाको दायाँ आँखामाथि रगत बगेको थियो । एकै छिनमा आमा ढल्नुभयो अनि मात्रै बुबाका हात रोकिए । हुन त हरेकपटक यस्तै नै हुन्छ । आमा बेहोस भएर नढल्दासम्म बुबाको हात रोकिँदैनथ्यो । आज पनि त्यस्तै भयो ।
मलाई आफ्नो जीवन देखेर एकदमै धिक्कार लाग्यो । मैले त आमाका लागि केही गर्न सकिनँ । बुबाले त्यसरी बेहोस हुने गरी पिट्दासमेत रमिते बनेर बस्नुबाहेक मैले केही गर्न सकिनँ । अनि फेरि, मलाई लाग्यो आमाको लागि केही गर्न नसक्ने म बाँचेर केही काम छैन । म मरेको राम्रो हुन्छ । मैले आत्महत्याको प्रयास गरें । आमाको पुरानो सल पङ्खामा अड्काएँ अनि आफ्नो घाँटीमा बेरेर झुन्डिएँ । तर, मलाई मर्न लेखेकै रैनछ क्यारे सल चुँडियो र म भुइँमा खसें ।
मलाई मेरो जीवन देखेर दिक्क लाग्थ्यो । न त केही गर्न सक्थें न त मर्न सक्थें । न त मेरो पढाइ नै राम्रो भएको थियो । न त आमाका लागि केही गर्न सक्थें । सिवाय, बुबाले पिट्दा रमिते बन्ने !
साथीहरूको कुरा सुन्दा, उनीहरूका आमाबुबा मिलेको देख्दा मलाई भित्रभित्रै जलन हुन्थ्यो । उनीहरूको जस्तै मेरो परिवार पनि भइदिए भन्ने सोच्थें । तर, सोचेर त कहाँ हुँदो रैछ ?
इशाबाहेक मेरो कुरा सुन्ने, मलाई थोरै भए पनि ढाडस दिने अरू साथी कोही थिएनन् । थिए त केवल मेरो मजाक बनाउने मात्रै । म आफूलाई संसारकै नराम्रो, अभागी छोरी ठान्थें । ममा नकारात्मक सोचबाहेक केही पनि थिएन । सायद, त्यही कारणले पनि होला म आफूलाई आफैँले कसरी मार्न सक्छु ? भन्ने धाउन्नमा लागिरहन्थें । घरी आमाले तरकारीमा हाल्ने औषधिहरू लुकाउँथें, घरी मुसाले सतायो भनेर आमासँग झूट बोलेर मुसा मार्ने दबाई किन्थें । तर, खै आमालाई कसरी थाहा हुन्थ्यो आमाले यसो उसो गरेर मेरा ती सबै प्रयासहरू असफल बनाइदिनुहुन्थ्यो ।
एकरात म मस्त निद्रामा थिएँ, कसैले मलाई साउती गरेर बोलाउँदै थियो । म बेस्सरी तर्सें । अँध्यारोमा बोलाउने महिलाको आवाज आयो । उनले मेरो मुख च्याप्प समातेर सुस्तरी भनिन्, ‘नीलम उठ् !’
त्यो आवाज अरू कसैको थिएन, मेरी प्यारी आमाको थियो । जो हरेक समय मरेर बाँचिरहेकी हुन्थिन् । आमाको बोली सुनेर सुरुमा त मलाई एकदमै डर लाग्यो । बुबाले थाहा पाए के गर्ने भन्ने सोचेरै मेरो मुटु थरर काँपेको थियो । त्यहीबेला आमाले फेरि साउती गर्नुभयो, ‘उठ् न नीलम, अहिले तेरो बाले थाहा पाउँछन् !’ यसपटक आमाको बोलीमा डरभन्दा धेरै हतारो सुनिएको थियो ।
मैले बिरालोको चालमा किताब–कापी झोलामा राखेँ । आमाले लुगा राखिदिनुभयो । अनि बिरालाकै चालमा हामी आमाछोरी बाहिर निस्कियौँ ।
त्यो रात बुबालाई एक्लै छोडी आमा र म भागेर बजार गयौँ । त्यसपछि हरेक रात आमाको चीत्कार होइन न्यानो अँगालो पाउँछु मैले । मर्नका लागि हरेक दिनअगाडि बढ्ने म, आमाका लागि बाँच्ने जिजीविषा सँगाल्दै छु । अहिले आमा मामाको सहयोगमा सानो चिया पसल चलाउनुहुन्छ । म बजारकै स्कुलमा नौ कक्षामा पढ्दै छु । हामी एकअर्कालाई हेरेर मुस्कुराउँछौं । आमा मुस्कुराउँदा मैले पुराना दिन सबै बिर्सिन्छु । आत्महत्याका प्रयास धन्न असफल भएछन् भनेर खुसी हुन्छु । सायद अब हाम्रो सुखको दिन आए कि !
(छाया महामारीकै विकराल रूप लिँदै गएको महिला हिंसाबारे दाङको फूलबारी गाउँकी एक किशोरीको प्रतिनिधि अनुभव यस लेखमा मिसिएको छ ।)

शनिबार विशेष

जताततै महाराज

लच्छुलाई लाग्यो, महाराज चुरोट तान्दै चिया खाइरहेका छन् । पछि थाहा भयो, त्यो त उसकै गाउँको गुन्डा रहेछ ।
- शरच्चन्द्र वस्ती

 

सत्तारूढ पार्टीको एउटा गुटको आमसभा ‘विशाल’ देखाउन रातभरि बसमा हालेर बिहान काठमाडौं झारिएको लच्छु चौधरीलाई आमसभा शुरू भएपछि चियाको उग्र तलतल लाग्यो । ऊ स्वयंसेवकहरूको आँखा छलेर सुस्तरी छेउ लाग्यो र लुसुक्क एउटा चियापसलमा पस्यो । अरू टेबुल आफूजस्तै आयातित ‘जन’ ले भरिभराउ देखेपछि ऊ कुनाको टेबुलतिर लम्कियो, जहाँ एकजना बूढो मानिस एक्लै बसेको थियो । झुस्स दारी पालेको, आँखामा गाजल लगाएको, प्रभावशाली अनुहार र गठिलो जीउको ।
लच्छु कुर्सीमा बस्नै लाग्दा महाराजको नाम लिएर आमसभामा कुनै नेता चिच्यायो, ‘उनी जंगबहादुर बन्न चाहन्छन् ।’ त्यो सुनेर बूढो मुसुक्क हाँस्यो र आमसभातिर हेर्दै बर्बरायो, ‘महाराजलाई मात्र के भन्छौ, तिमीहरू पनि त जंगबहादुर नै बन्न चाहन्छौ नि । त्यही बन्न नपाएर यत्रो रुवाबासी चलेको छ !’
आठ कक्षा पास गरेको लच्छुले धेरै अघि स्कूलमा जंगबहादुर र राणा शासनका बारेमा पढेको थियो । तर के पढेको थियो, उसलाई याद थिएन । बूढाको
कुराले उसको उत्सुकता जाग्यो । सोध्यो, ‘जंगबहादुर भनेको के हो ? राम्ररी बुझाइदिनोस् न ।’
‘यिनीहरूले भनेको जंगबहादुर त्यस्तो व्यक्ति हो, जसले आफूलाई कानून भन्दा माथि ठान्छ । जो शक्तिको भरमा कानून तोड्न हिचकिचाउँदैन,’ बूढाले हाँस्तै भन्यो, ‘सुन्छौ उसको कथा ?’
‘भन्नोस् न,’ लच्छुले बूढालाई पनि चिया मगायो ।
बूढो भन्न थाल्यो ः आज भन्दा पौने दुई सय वर्ष अघि देशको सत्ता कब्जा गरेपछि जंगबहादुरले आफ्ना भाइहरूलाई एकान्तमा बोलाएर भने, ‘अब यो देशको मालिक म हुँ । मेरो हुकुम नै यहाँको ऐन, कानून हो । कानून मैले दिने हो, त्यसैले म कानून भन्दा माथि छु । मलाई कानूनले छुँदैन । ऐन–कानून लाग्ने रैतीलाई
मात्र हो ।’
उनी भन्दैगए, ‘तिमीहरू मेरा भाइ हौ । हामीमा एउटै रगत बगेको छ । त्यसैले तिमीहरू पनि कानून भन्दा माथि हुनेछौ ।’
‘तर दाजै, हजूर श्री ३ महाराज होइबक्सन्छ । हामी श्री १ मात्र छौं । कानूनले हामीलाई कसरी चिन्ला ? माइला भाइले चिन्ता जाहेर गरे ।
जंगबहादुरले भने, ‘अब उप्रान्त मेरो नामलाई नै आफ्नो थर बनाऊ । थरको सट्टा जंगबहादुर राणा लेख्न थाल । त्यसपछि मेरो आत्मा तिमीहरूमा प्रवेश गर्नेछ । तिमीहरूको अनुहारमा म उपस्थित हुनेछु । अनि ऐन–कानून तिमीहरूबाट डराउनेछ । त्यसले तिमीहरूलाई छुनेछैन ।’
यसप्रकार जंगबहादुरले अनेक अनुहारमा एक शताब्दी चानचुन ऐन–कानून भन्दा माथि रहेर देशको शासन चलाए ।
लच्छु हाँस्यो, ‘कसरी थाहा पाउनुभयो तपाईंले, जंगबहादुरले आफ्ना भाइहरूलाई एकान्तमा भनेको कुरा ? आफैंले सुनेजस्तो गरी भन्नुहुँदैछ त ?’
‘किनभने, म स्वयं जंगबहादुर हुँ ।’
बूढो गम्भीर थियो । तर लच्छुलाई लाग्यो, ऊ जिस्किंदैछ । उसले पनि जिस्केरै गम्भीरताको अभिनय गर्‍यो, ‘तपाईं मरेकै डेढ सय वर्ष हुन लाग्यो...’
‘म मरेर सिद्धिने प्रजाति होइन । त्यही भएर आज पनि मेरो श्राद्ध गर्दैछन् । पिण्ड खान आइरहन्छु । आएपछि एक दुई दिन यतै बसिन्छ । हाम्रो एक दिन तिमीहरूको एक महीना हो भन्ने त तिमीलाई थाहै होला ।’
लच्छुले पत्याउने कुरै थिएन । तर उसलाई बूढाको कुरा रमाइलो लागिरहेको थियो । बूढाले कुरा अगाडि बढायो, ‘राणा शासन सिद्धिएपछि छ दशक जति राजाको राज चल्यो । तर राजवंशमा मेरै रगत प्रवाहित भइरहेको थियो । त्यसैले राजाहरू मेरै भाका दोहोर्‍याइरहन्थे, ‘संविधान र कानून हामीले दिने हो, त्यसैले हामी तीभन्दा माथि छौं । हामीलाई तिनले छुँदैनन् । ऐन–कानून लाग्ने प्रजालाई मात्र हो, राजा र राजपरिवारलाई होइन ।’
‘अब त राजा पनि छैनन् । गणतन्त्र आएकै १५ वर्ष हुन लागिसक्यो,’ लच्छुले प्रश्न गर्‍यो, ‘अब कोही जंगबहादुर कसरी बन्न सक्छ ?’
‘पहिले एउटा राजा हुन्थे । तिनलाई लखेटेपछि थुप्रै राजा पैदा भएका छन्,’ बूढाले भन्यो ः ती सबैको टाउकामा तिम्रा महाराज छन् । उनी भन्छन्, ‘म संविधान भन्दा माथि छु । कानून मैले दिने हो, त्यसैले म कानून भन्दा माथि छु । मलाई संविधान, कानून केहीले छुँदैन । कानून लाग्ने जनतालाई मात्र हो ।’
उनी बिहान उठ्नासाथ ऐना हेर्छन् । त्यसमा आफ्नो होइन, मेरो अनुहार देख्छन् र दंग पर्छन् । तर आफूलाई मभन्दा शक्तिशाली ठान्छन् । भन्छन्, ‘जंगबहादुर त श्री ३ मात्र थिए । उनीभन्दा माथि श्री ५ हुन्थे, जसलाई राजा भनिन्थ्यो । अहिले दुवै छैनन् । त्यसैले दुवै मै हुँ । श्री ३ पनि, श्री ५ पनि । दुवैलाई जोडेर म श्री ८ महाराज हुँ । संविधान र कानूनले मेरो इच्छा अनुसार सास फेर्छन् । मैले जे भन्छु, त्यही संविधान हो । त्यही कानून हो । त्यही ऐन हो । त्यही नियम हो ।’
तिम्रा महाराज मेरा नयाँ संस्करण हुन् । उहिले मेरो अनुहार राणा खलकमा मात्र देखिन्थ्यो, अहिले उनको अनुहार जोसुकैमा पनि देखिन्छ ।
लच्छुले बूढालाई उडाउने हिसाबले भन्यो, ‘खोइ, मैले त आजसम्म कसैमा महाराजको अनुहार देखेको छैन । तपाईंका कुरा कसरी पत्याऊँ ?’
‘तिम्रा आँखा आधा टालिएका छन् । पख है त, म तिनलाई पूरै खोलिदिन्छु । अनि छर्लंग देख्नेछौ छोटे महाराजहरूलाई ।’ बूढाले भन्यो र आफ्नो आँखाबाट साइँली औंलाले अलिकति गाजल निकालेर लच्छुका आँखामा लगाइदियो ।
साँच्चै चमत्कार भयो । टाउको घुमाएर पल्लो टेबुलतिर हेर्दा लच्छुलाई लाग्यो, महाराज चुरोट तान्दै चिया खाइरहेका छन् । पहिले त ऊ झस्क्यो, तर ध्यान दिएर नजर लगाउँदा थाहा पायो, त्यो त उसकै गाउँको गुण्डा रहेछ, जो ऊसँगै बस चढेर काठमाडौं आएको थियो । नजाने कतिलाई लुटेको, पिटेको थियो उसले, तर कहिल्यै कानूनको पन्जामा परेको थिएन ।
लच्छु पुलकित भएको देखेर बूढाले भन्यो, ‘ल हिंड अब, तमाशा हेर्न ।’
दुवै जना चियापसलबाट निस्के र यस्सो आमसभातिर दृष्टिपात गरे । लच्छुले देख्यो— मञ्चमा आसीन पाँचै जना परम–वरिष्ठ नेता, जो हरेक सभामा पानी पिई पिई महाराजलाई गाली गर्न नामूद थिए, भाइ–महाराज देखिन थालेका थिए । तिनको गर्जन आफ्नै कर्महरूबाट डराएर गरिएको आर्तनाद जस्तो सुनिन्थ्यो । कोही मारिएकाहरूले, कोही घाइतेहरूले, कोही होली वाइन पिलाउनेहरूले, कोही नोटका सुटकेसहरूले, कोही सुन तस्करहरूले लखेट्लान् भनेर डराए जस्तो ।
अर्को सडकमा २० जना जतिको जुलूस थियो, थरीथरीका प्लेकार्ड बोकेर महाराजविरुद्ध नारा लगाउँदै हिंडेको । उनीहरू आफूलाई आफैंले अगुवा घोषित गरिरहेका थिए, स्वतन्त्रता पक्षधर बताइरहेका थिए र आफ्नो समर्थन नगर्नेलाई प्रतिगामीको उपाधि वितरण गरिरहेका थिए । रमाइलो त के भने, तिनीहरूको मुहारमा पनि महाराज नै हाँसिरहेका थिए ।
बूढाले लच्छुलाई भन्यो, ‘यसरी सडक नापेर हुँदैन । अब विभिन्न कार्यालय र मन्त्रालयतिर लागौं ।’
उनीहरू जहाँ पुगे, महाराज त्यहीं उपस्थित थिए । लच्छुले देख्यो— शक्तिको आडमा कानून मिच्ने र आफूलाई कानून भन्दा माथि ठान्ने हरेक व्यक्तिमा उनै क्रियाशील रहेछन् । कहीं व्यापारीको भेषमा एक करोडको सामान दिएर २२ करोडको बिल बनाइरहेका थिए त कहीं २२ करोड कर तिर्नुपर्नेमा एक करोड तिरिरहेका थिए । कर्मचारीको भेषमा दुवैको काम फत्ते गराइदिने पनि उनै थिए । कहीं अर्बौंको ऋण नतिरेर बैंक डुबाइरहेका थिए त कहीं समयमा पुल नबनाएर लागत दोब्बर बनाइरहेका थिए । कतै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराइरहेका थिए भने कतै राजनीतिक कार्यकर्ता बनेर बजेट पचाइरहेका थिए । भ्रष्टाचार गर्ने उनै थिए र भ्रष्टाचारीलाई उन्मुक्ति दिन पनि उनै सक्रिय थिए ।
मन्त्रालयमा मन्त्री र सांसदबीच सौहार्दपूर्ण संवाद चलिरहेको थियो । मन्त्री ‘यो त नियमले मिल्दैन यार’ भन्दैथियो । सांसद ‘नियमले मिल्ने भए तिमीकहाँ किन आउँथें ?’ भनेर पेल्दैथियो । सांसदले ‘एउटा हस्ताक्षर धस्काउँदा दुई करोड आउँछ, यस्तोमा पनि नियम खोज्ने ?’ भनेपछि मन्त्रीले ‘पैसा चाहिं सालीको खातामा हालिदेऊ नि’ भन्दै तत्काल सही गर्‍यो । सांसदले ‘यो हो नि मन्त्रीको पावर भनेको’ भनेर फुर्क्यायो भने मन्त्रीले ‘कानून नतोडेसम्म आफूसँग पावर भएको अनुभूति नै हुँदैन यार’ भनेर ङिच्च गर्‍यो । दुवैले अट्टहास गरे । दुवैको अनुहारमा महाराज झुल्किसकेका थिए ।
अन्त्यमा उनीहरू सरकारी अस्पताल छिरे । डाक्टरको कोठाबाहिर १२ जना बिरामी प्रतीक्षा गरिरहेका थिए । एउटाले गेटपालेलाई अलि पर लगेर के खासखुस गर्‍यो कुन्नि, उसले सात जनाको पालो मिचेर त्यसलाई भित्र छिराइदियो । अरू बिरामी गेटपालेलाई गाली गरिरहेका थिए, तर उसको अनुहार मलिन होइन, प्रफुल्लित थियो । लच्छु जिल्ल पर्‍यो, उसको काँधमाथि त महाराज पो मुस्कुराइरहेका रहेछन् । सोच्यो, ‘ऊ पनि आफ्नो ढोकाको महाराजै त हो नि !’
घाम अस्ताउन लागेको थियो । एउटा सेल्फी खिचिहाल्नुपर्‍यो भनेर लच्छुले बूढालाई आफ्नो पछाडि उभ्यायो र मोबाइल समातेर दाहिने हात अगाडि तन्कायो । बूढो मान्छे फ्रेममा परेन । मोबाइल दायाँ–बायाँ सार्दा पनि ऊ देखिएन । ‘नछेकिने गरी उभिनोस् न’ भन्दै लच्छु पछाडि फर्कंदा बूढो गायब
भइसकेको थियो ।

Page 9
अर्थ वाणिज्य

नेपाली गोलभेंडा सडकमा, भान्सामा भने भारतको

- राजु चौधरी

(काठमाडौं) - श्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका वैदेशिक रोजगारीबाट फर्केका रामचन्द्र नेपालले स्वदेशमै तरकारी खेती गर्ने सोच बनाए । सोहीअनुसार
उनले अन्नपूर्ण कृषि उत्पादन फर्म दर्ता गरे । स्वदेशमै केही गर्ने हेतुले कृषि सुरु गरेका उनी यो पेसाबाट खुसी भने छैनन् ।
‘सरकारले कृषि क्रान्ति गर्ने भनेर स्थानीय तहले खेती गर्न भन्यो, सोहीअनुसार खेती गरिरहेका पनि छौं,’ उनले भने, ‘तर त्यसको मूल्य मापन भएन । उत्पादन बजारसम्म पुर्‍याउनै गाह्रो भयो ।’ भारतीय तरकारीले नेपाली बजार कब्जा गरेपछि थप समस्या भएको किसानको भनाइ छ । त्यसको विरोधमा बर्दघाटका किसानले फागुन ४ मा बर्दघाट नगरपालिका कार्यालय परिसरमै गोलभेंडा फाले ।
‘विदेशबाट फर्केपछि करिब १८ वर्षयता कृषिमै संलग्न छु । तर हरेक वर्ष मूल्यकै समस्या छ । आयातित तरकारी सस्तो हुँदा नेपाली किसानलाई मार पर्‍यो,’ उनले भने, ‘तरकारी बेच्ने यहीँ स्थानीय तहमै हो । तर बजारबाटै विस्थापित छौं ।’ बिक्री नभएपछि करिब ६ बिघा बारीमा गोलभेंडा थुप्रिएको उनले गुनासो गरे ।
जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका नवलपरासी जिल्ला अध्यक्ष कमल परियारले
पनि उत्पादनले बजार नपाएको बताए । ‘किसानको बारीमा उत्पादन प्रशस्त छ । १०/१२
दिनयता तापक्रम पनि बढ्यो, दुई–चार दिनपछि पाक्ने गोलभेंडा अगाडि नै पाक्यो,’ उनले भने, ‘उत्पादनले बजार पाएन । हाटबजारमा किलोको १०/१५
रुपैयाँमा किन्न पाइन्छ । किसान थप सस्तोमा बिक्री गर्न बाध्य छन् ।’
सिजन भएकाले गोलभेंडाको मूल्य सस्तो भएको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेको दाबी छ । ‘सिजन भएकाले उत्पादन बढी नै छ । जिल्लामै प्रशस्त उत्पादन भएकाले जिल्ला बाहिरको रोक्नुपर्‍यो भन्ने माग गरेका छन्, किसान उग्र किसिमले कार्यालय आए,’ काफ्लेले भने, ‘असन्तुष्टि पोख्न सजिलो छ, यसमा नगरपालिकाले सहजीकरण मात्र गर्ने हो ।’
किसानले प्रतिकिलो करिब १० रुपैयाँमा बेचेको गोलभेंडा उपत्यकामा ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा व्यापारीका अनुसार भारतीय गोलभेंडा ४० र नेपाली गोलभेंडा ५० रुपैयाँमा बिक्री भएको व्यापारी बताउँछन् । उपत्यकामा बारा, चितवन, दाङ, सुनसरी, धादिङ, काभ्रे, ललितपुरलगायत जिल्लाबाट गोलभेंडा आउँछ । आयातित तरकारी मुख्यतः कालीमाटी फलफूल
तथा तरकारी बजार विकास समितिबाट
बिक्री गरिन्छ ।

समितिले उपत्यकाको करिब ७५ प्रतिशत माग पूर्ति गरिरहेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि किसानको मूल्य घट्नुको मुख्य कारण भारतकै गोलभेंडा भएको बताए । ‘स्थानीय उत्पादनसँगै भारतबाट पनि प्रशस्त मात्रामा गोलभेंडा भित्रिएको छ । तुलनात्मक रूपमा नेपालीभन्दा भारतीय केही सस्तो पनि छ,’ श्रेष्ठले भने, ‘भारतीय गोलभेंडा सस्तो हुँदा यहाँका किसानले मूल्य पाएनन् ।’
माघमा कालीमाटी बजारमा ३० लाख ५९ हजार ५ सय ७६ किलो गोलभेंडा भित्रिएको समितिको तथ्यांक छ । यसमध्ये १६ लाख ५० हजार ९ सय ३६ किलो भारतबाटै आयात भएको थियो । फागुन पहिलो साता पनि भारतबाटै उल्लेख्य परिमाणमा गोलभेंडा भित्रिएको छ ।
‘फागुन पहिलो साता भित्रिएको परिमाणमध्ये ५० प्रतिशत भारतकै छ,’ श्रेष्ठले भने, ‘भारतबाट पर्याप्त आयात हुँदा नेपाली किसानको लागत नै उठ्दैन ।’ अहिले भारतमा पनि गोलभेंडाको सिजन हो । भारतमा विभिन्न सहुलियतका कारण नेपाली उत्पादनको तुलनामा गोलभेंडा सस्तो पर्छ । त्यसको फाइदा व्यवसायीले उठाइरहेका छन् । नेपाली किसान भने बर्सेनि मूल्य नपाउने समस्याबाट गुज्रिरहेका छन् । आफूले उत्पादन गरेका वस्तुको मूल्य/बजार नपाएको भन्दै उनीहरूले हरेक वर्ष विरोध गर्ने गरेका छन् । तरकारी बिक्री नभएपछि बालीमै ट्र्याक्टर लगाउनुपर्ने बाध्यतासमेत छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले भने किसानले मूल्य नपाएको विषयमा मन्त्रालय जानकार रहेको बताए । किसानका समस्या समेट्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । यद्यपि भारतबाट आउने तरकारीलाई बिनाकारण रोक्न नमिल्ने उनले बताए । ‘हामीले भारतलाई जति गाली गरे पनि दुई मुलुकबीचको व्यापार नीति/सन्धि छ । सम्बन्धको कुरा पनि छ । बिनाकारण तरकारी रोक्न मिल्दैन,’ उनले भने, ‘नेपाली किसानले उत्पादकत्व बढाउने हो, होलसेल बजार खोज्ने हो । मल, बीउ र सिँचाइको सुविधा दिने जिम्मा सरकारको हो । अरू किसानकै भरमा छ ।’ मुलुकभर २ लाख ९७ हजार १ सय ९५ हेक्टरमा तरकारी खेती हुने गरेको राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीले जानकारी दिए । यसमध्ये २२ हजार ५ सय ६६ हेक्टरमा गोलभेंडा खेती गरिन्छ । उक्त क्षेत्रफलमा वार्षिक ४ लाख ६ हजार ४ सय ३४ टन गोलभेंडा उत्पादन हुन्छ । त्यसले नपुगे भारतकै भर पर्नुपर्छ ।

अर्थ वाणिज्य

मेयरको कार्यकक्षमा तरकारी फालेर विरोध

- नवीन पौडेल

(परासी) - स्थानीय तहले किसानका समस्या समाधान गर्न नसकेको भन्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसानले नगर प्रमुखको कार्यकक्षमा गोलभेंडा फालेर विरोध जनाएका छन् । भारतीय गोलभेंडा खुलमखुला बजारमा भित्रिएको र स्थानीय तहले किसानको समस्या समाधान गर्नेतर्फ योजना नल्याएको भन्दै नगरपालिकाको कार्यालयअघि नगर प्रमुखको कार्यकक्ष र सडकमा गोलभेंडा फ्याँकेर उनीहरूले विरोध जनाएका हुन् ।
नगर प्रमुखलाई आफ्ना समस्याबारे जानकारी गराउन खोज्दा नगर प्रमुख धीरज शर्मा बस्यालले समय नदिएपछि किसानले नगर प्रमुखको कार्यकक्षमा समेत गोलभेंडा फ्याँकिएको स्थानीय सन्तबहादुर चौधरीले बताए । ‘कमिसन आउने र आफ्ना कार्यकर्तालाई काम दिने योजनामा मात्र बढी जोड दिने, किसानको फसलले मूल्य नपाएको नदेख्ने जनप्रतिनिधि के काम ?’ उनले भने, ‘किसानलाई समय नदिने नगर प्रमुखको विरोधमा कार्यकक्षमा गोलभेंडा फ्याँकेर विरोध जनाएका हौं ।’
अनुत्पादक क्षेत्रमा लगानी बढी भएको तर किसानको जीविकोपार्जनका लागि योजना आउन नसकेको स्थानीय विशाल पोखरेलले बताए । त्यसैले गोलभेंडा फ्याँकेर सांकेतिक विरोध सुरु गरेको उनको भनाइ छ । ‘अब नगरभित्रका सबै किसान आन्दोलित हुन्छन्,’ उनले भने । अहिले जिल्लामा गोलभेंडा प्रतिकिलो ९ देखि १० रुपैयाँ मात्रै छ ।

भारतीय टमाटर धमाधम बजारमा आउन थालेपछि ठूला व्यवसायीले नेपाली किसानको उत्पादन किनेका छैनन् । ‘नेपाली किसानले लगाएको गोलभेंडा बारीमै कुहिने अवस्था आयो । भारतीय गोलभेंडा धमाधम भित्रिन दिने कस्तो प्रशासन र सरकार हो ? किसानको मर्का सुन्न पनि नचाहने स्थानीय तह भएपछि कसरी बल्छ गरिबको चुलो,’ किसान जीवन कानुले भने । नगर प्रमुख धीरज शर्मा बस्यालले भने किसानका गोलभेंडा बिक्री नभएको सन्दर्भमा आफूलाई जानकारी नगराई आन्दोलनमा आउनु गलत भएको प्रतिक्रिया दिए । पूर्वसूचनाबिनै एकै पटक गोलभेंडा फालेर किसानले अराजकता प्रदर्शन गरेको उनको भनाइ छ । किसानले दुई वटा गाडीमा ३० क्विन्टल गोलभेंडा ल्याएर नगरपालिका परिसर र कर्मचारीका कार्यकक्षमा फालिदिएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीसमेत परिचालन गरिएको थियो ।

अर्थ वाणिज्य

ईपीसी डकुमेन्ट नहुँदा आयोजना निर्माणमा समस्या

फास्ट ट्र्याक र सिद्धबाबा सुरुङले अझै पाएनन् स्वीकृति
- विमल खतिवडा

(काठमाडौं) - काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) डकुमेन्ट बनाएर राय प्रतिक्रिया मागेको दुई महिना हुन लाग्यो । तर आयोजनाले अझै राय पाउन सकेको छैन । गत पुस १६ मा मार्गदर्शनका लागि पठाए पनि समयमै राय नपाउँदा आयोजना ढिलाइ हुने खतरा बढेको नेपाली सेनाले जनाएको छ ।
सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाले आफैं कन्सल्टेन्टमार्फत ईपीसी डकुमेन्ट बनाएर कार्यालयमा पेस गरेको थियो । कार्यालयले अझै राय नदिएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘कार्यालयले राय दिन एक हप्ता भन्दाभन्दै लामो समय लगाइसकेको छ,’ उनले भने, ‘जसले गर्दा प्रोजेक्ट ढिला हुने अवस्था बन्दै छ ।’ आयोजनाको विभिन्न खण्डमा जटिल कामका रूपमा रहेको सुरुङ निर्माण गर्नुपर्नेछ । महादेवटारमा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमि सुरुङ खन्नुपर्नेछ । त्यस्तै ८७ वटा पुल निर्माण गर्नुपर्नेछ ।
‘यसमा कार्यालयको सहमति लिन खोजेका हौं,’ पौडेलले भने, ‘यसबारे हामीले छलफल गरेर सबै जानकारी गराइसकेका छौं ।’ कार्यालयले डकुमेन्ट बनाइदिएको भए आयोजनाले राय लिन यति समय कुर्न नपर्ने उनको भनाइ छ । ईपीसी भनेको सर्भे डिजाइनको काम बिडरबाटै गर्ने गरी तयार गरिएको डकुमेन्ट हो ।
फास्ट ट्र्याकमा मात्र होइन, सरकारकै लगानीमा बन्न लागेको सिद्धबाबा सुरुङमार्गमा पनि यही समस्या दोहोरिएको छ । सडक विभागले खरिद कार्यालयमा रायसुझाव मागेको लामो समय भइसकेको छ । तर अहिलेसम्म स्वीकृत नभएको विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । ‘नेपाल सरकारको ईपीसी मोडलमा जाने स्ट्यान्डर्ड डकुमेन्ट छैन,’ उनले भने, ‘त्यसैले सिद्धबाबाका लागि आफैंले स्ट्यान्डर्ड डकुमेन्ट बनाएर धेरै पहिल्यै पठाएका हौं, अहिलेसम्म स्वीकृत भइसकेको छैन ।’ विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रोजेक्ट हुँदा अन्तर्राष्ट्रिय स्तरका डकुमेन्ट तयार गरेर काम गर्ने गरिएको छ । ‘तर सिद्धबाबा सुरुङ नितान्त नेपाली पैसामा बनाइने भएकाले आफ्नै डकुमेन्ट चाहिएको हो,’ उनले भने, ‘त्यसैले ठूला आयोजनाका लागि ईपीसी डकुमेन्ट अत्यावश्यक छ ।’
राष्ट्रिय सभाको प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बुधबार फास्ट ट्र्याकबारे राखेको छलफलमा ईपीसी डकुमेन्टबारे पनि चर्चा भयो । २०६५ सालमा स्थापित खरिद कार्यालयले अझै ईपीसी डकुमेन्ट नबनाएको भन्दै समिति सभापति रामनारायण बिडारीले ईपीसी मोडलमा नेपालमा कुनै आयोजना बनेका छैनन् भनी प्रश्न गरे ।
‘आजसम्म ईपीसी डकुमेन्ट किन बनाइएन ? यो गम्भीर कुरा छ,’ उनले भने, ‘सेनाले गर्न लागेको काममा सबैभन्दा समस्या यही भयो, कार्यालयले नबनाउने, सेना आफैंले बनाएर दिएको कुरा वैध हुने कि नहुने ?’ अहिलेसम्म ईपीसी डकुमेन्ट नबनाउनु सरकारको कमजोरी भएको उनले बताए । ‘खरिद कार्यालय प्रधानमन्त्री कार्यालयअन्तर्गत हुन्छ, यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने हो,’ उनले भने ।
ईपीसीसम्बन्धी बोलपत्रको नमुना कागजात तयार भइनसकेको सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन शाखा निर्देशक राजेशकुमार थापाले जानकारी दिए । ‘सेनाबाट फास्ट ट्र्याक र सडक विभागबाट सिद्धबाबा सुरुङ निर्माणमा ईपीसी डकुमेन्टका लागि मार्गनिर्देशन तथा सहमति पाऊँ भनेर पत्राचार भयो,’ उनले भने, ‘ठूला र जटिल प्रकृतिका आयोजनामा ईपीसी डकुमेन्ट आवश्यक पर्ने रहेछ, त्यहीअनुसार कार्यालयले प्राविधिक सहसचिवको अध्यक्षतामा एउटा मस्यौदा समिति गठन गरेर यसबारे काम गरिसकेको छ ।’

स्थानीय पूर्वाधार विभागका महानिर्देशक, सडक विभागलगायत विभिन्न आयोजना सञ्चालन गर्ने मन्त्रालय तथा विभागका प्रतिनिधिसहितको समिति गठन गरी मस्यौदा तयार गरिएको छ ।
‘मस्यौदामा आवश्यक सुझाव र प्रतिक्रिया पठाइदिन विभिन्न विकास आयोजनासँग सम्बद्ध मन्त्रालय, विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सेनालगायत निकायमा पत्राचार भयो,’ थापाले भने, ‘त्यसपछि ती निकायबाट लिखित रूपमा थप्नु र घटाउनुपर्ने कुरा आए, विभिन्न विभागसँग कार्यालयमा अन्तर्क्रिया र छलफल पनि गरिसकेका छौं ।’
छलफल गरेर मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि खरिद अनुगमन कार्यालयबाट मन्त्रिपरिषद्मा पेस भएको उनको भनाइ छ । ‘तर यसबारे के भइरहेको छ, कुनै जानकारी आएको छैन,’ उनले भने । पहिला सबै डकुमेन्ट तयार भएपछि बिडरलाई प्रस्ताव आह्वान गरेर ठेक्का लगाउने भनिएको थियो । ‘हाम्रोमा ईपीसी त्यति धेरै प्रयोगमा थिएन, भर्खर सुरु भएकाले कार्यालयले यसअघि जारी नगरेको डकुमेन्ट विभिन्न निकायबाट माग भइसकेपछि छुट्टाछुट्टै निकायलाई सहमति दिनुभन्दा डकुमेन्ट तयार पार्न नै आवश्यक देखियो,’ थापाले भने, ‘यसलाई आफैंले जारी गरेर त्यही डकुमेन्टका आधारमा विभिन्न निकायलाई बिडिङ प्रक्रिया अघि बढाउन सजिलो होस् भनेर तदारुकतासाथ तीन महिनाभित्रमा सबै डकुमेन्ट तयार गरेका हौं ।’
मन्त्रिपरिषद्बाट स्वीकृति आउनेबित्तिकै कार्यालयको वेबटसाइटमा राखेर त्यहीअनुसार बिडिङ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । नेपालमा ईपीसी डकुमेन्ट बनी नसकेको पूर्वसचिव तुलसी सिटौला बताउँछन् । ‘अहिलेसम्म ईपीसी डकुमेन्ट बनाइसकिएको छैन,’ उनले भने, ‘अहिले आयोजना आफैंले कन्सल्टेन्टमार्फत डकुमेन्ट बनाई सार्वजनिक खरिद अनुगमन कार्यालयको स्वीकृति लिनुपर्छ ।’ जटिल खालका आयोजनाका लागि मात्र ईपीसी आवश्यक पर्ने उनको भनाइ छ ।

अर्थ वाणिज्य

होङ्सीमा डिजेल र कोइलाको भर

- नारायण शर्मा

(पूर्वी नवलपरासी) - वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ । मागअनुसारको बिजुली नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनुपरेकाले लागत बढेको कारखानाले जनाएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको उद्योगको कारखानामा दैनिक कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको छ । वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक, पानीको आपूर्ति नेपाल सरकारले गर्नुपर्ने भए पनि होङ्सीले त्यसअनुसारको सुविधा नपाएको गुनासो गरेको छ । कारखानाले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ । कारखानाबाट उत्पादित ओपीसी सिमेन्ट ६ सय रुपैयाँ र पीपीसी सिमेन्ट ५ सय रुपैयाँमा बिक्री हुन्छ । यो अरूको तुलनामा प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो हो । मागअनुसारको बिजुली आपूर्ति हुन सके बिक्री मूल्यमा प्रतिबोरा कम्तीमा ५० रुपैयाँ सस्तोमा बेच्न सकिने कारखानाको भनाइ छ । ‘पर्याप्त बिजुली आपूर्ति हुन सके अहिलेको बिक्री मूल्यको तुलनामा सस्तोमा सिमेन्ट उपलब्ध हुन्छ,’ होङ्सीका सहायक महाप्रबन्धक जेम्सले भने ।
डिजेलबाट बिजुली उत्पादन गर्दा प्रतियुनिट २३ रुपैयाँ लागत पर्छ । विद्युत् प्राधिकरणबाट लिँदा भने प्रतियुनिट सरदर ८ रुपैयाँ ५५ पैसा पर्न जान्छ । प्राधिकरणले प्रसारण लाइन नभएका कारण बिजुली नदिएको हो । कारखाना परिसरमा बत्ती बाल्ने मात्र बिजुली दिइएको छ । आवश्यक बिजुली आपूर्तिका लागि प्रसारण लाइन निर्माणाधीन छ ।

अहिलेको क्षमतामा उद्योगलाई ५४ मेगावाट बिजुली चाहिन्छ । त्यसका लागि उद्योगले कोइलाबाट १२ मेगावाट र बाँकी डिजेल प्लान्टबाट उत्पादन गर्दै आएको छ । ३६ अर्ब चिनियाँ लगानीको होङ्सीले उत्पादन थालेको दुई वर्ष भएको छ ।
विनयी त्रिवेणीमै रहेको सीजी सिमेन्टमा पनि मागअनुसारको विद्युत् आपूर्ति हुन सकेको छैन । जसकारण डिजेल प्लान्टबाट सिमेन्ट उत्पादन गर्नुपरेको सीजी सिमेन्टका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिए । सीजी सिमेन्टका लागि आवश्यक ३ दशमलव २ मेगावाट बिजुलीमध्ये २५ सय केभीए मात्रै आपूर्ति भइरहेको छ ।

प्राधिकरणलाई मासिक २० करोड घाटा


कारखानाको मागअनुसारको विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत् प्राधिकरणलाई मासिक करिब २० करोड रुपैयाँ घाटा लागेको छ । कारखानाले पूर्ण क्षमतामा कारखाना चलाउँदा वार्षिक ५ अर्बभन्दा बढी रकम बिजुलीबापत तिर्छ । हाल कारखानाको उत्पादन क्षमता दैनिक ६ हजार टन रहे पनि कारखानाले दोस्रो चरणमा उक्त परिमाण उत्पादन गर्ने योजनाअनुसार काम भइरहेको छ । त्यसपछि दैनिक १२ हजार टन सिमेन्ट र क्लिंकर उत्पादन हुने क्षमता राख्छ । होङ्सीको मागअनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनका प्रमुख हरि पाण्डे बताउँछन् । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा कारखानाका लागि ८४ मेगावाट बिजुली चाहिन्छ । कारखानामा बिजुली पुर्‍याउन डबल सर्किटसहितको काम अघि बढेको उनले जानकारी दिए । उद्योग मन्त्रालयको करिब ६० करोड रुपैयाँ बजेटबाट काम अघि बढेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

पानी नभएपछि तराईतिर बसाइँसराइ

कृषि उद्यमबाट स्वरोजगार बन्न चाहने किसानलाई समस्या
- वीरेन्द्र केसी

(अर्घाखाँची) - कुवामा पानी सुक्न थालेदेखि यहाँको असुरकोटकी विमला बैजालीलाई वर्षा सुरु नहुन्जेल पिउने पानी जोहो गर्न सकस हुन्छ । गत वर्षामा घैंटोमा संकलन गरेको पानी सकियो । यस्तै अभावले गत वर्ष दुई छिमेकी बसाइँ सरेर तराई गइसके ।
‘गाउँकै जग्गामा केही कृषि उद्यम गरौं भनेर पनि के गर्नु ? हामीलाई पिउने पानी छैन,’ उनले भनिन्, ‘एक गाग्री पानी जोहो गर्न बिहानभरि लाग्छ ।’ पानी अभावले व्यावसायिक पशुपालन र कृषिबाट वञ्चित भइरहेको यहाँका बासिन्दाको गुनासो छ । जंगलमा रुखमुनि, खोला छेउका कुवा (पानीका मूल) गर्मी बढेसँगै सुक्छन् । अहिले घन्टौं हिँडेर खोलाबाट एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन् । गाउँमै तरकारी खेती, पशुपालन गरेर कृषि उद्यमबाट स्वरोजगार बन्ने सोच भए पनि पानी अभावले पतिलाई वैदेशिक रोजगारमा पठाउनुपरेको उनको भनाइ छ । भूमिकास्थान–५ बुधुनमाराकी कमला परियार सबेरै गाग्री बोकेर कुवातिर दौडिन्छिन् । घरमा पति र उनी छन् । उमेर ५९ पुग्यो । अरू बेला चिन्ता नभए पनि हिउँदभर घरमा पानीकै टन्टो हुन्छ । ‘सकिनसकी एक गाग्री पानी नल्याएसम्म घरमा चुलो बल्दैन,’ उनले भनिन्, ‘नजिकको मूल सुक्यो, खोला किनारमा जानुपर्छ ।’
करेसाबारीमा लगाएको साग, काउली, मूला पानी नभएर ओइिलाएका छन् । एउटा दुहुनो भैंसी छ । घाँस र पानी पेटभरि खुवाए मात्र दूध धेरै दिन्छ । घाँस प्रशस्त खुवाए पनि पानी अड्कलेरै दिनुपर्छ । पानी नभएकै कारण दुई महिनाअघि कमलाले दुई वटा बाख्रा बेचिन् ।
छत्रदेव गाउँपालिका–३ का विष्णुप्रसाद भुसालले गाउँमा पानी नभएकै कारण खोला किनारामा कृषि फार्म सञ्चालन गरेका छन् । ‘घरमा पिउने पानी छैन, हिउँदमा एक गाग्री पानीकै लागि कुवा खोज्न जंगल चहार्नुपर्छ,’ उनले भने, ‘पानीको दुःखकै कारण खोला किनारमा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेको छु ।’ पानीकै कारण प्रायः खोला किनारामा बसाइँ सरेका छन् । अलि पैसा हुने तराई र ठूला सहरमा जान्छन् । बर्खामा धारामा पानी आएपछि हिउँदमा आउँदैन । माघदेखि जेठसम्म जंगलका कुवामा गाग्री बोकेर जानुपर्छ । छिटो नगए पालो पाइँदैन । ‘बिहान ४ बजेदेखि नै कुवामा लाइनमा बस्नुपर्छ, पानीको दुःखले छाडेन,’ केरुंगाका लक्ष्मण खनालले भने ।
कुवाबाट बोकेर ल्याएको पानी अड्कलेर पिउनुपर्ने भएकाले यतिबेला गाईबाख्रा, भैंसी, कुखुरा धेरैले बेच्छन् । बर्खा सुरु भएपछि बल्ल थप्छन् । बारी खेतीयोग्य छ । तरकारी, अन्नबाली राम्रो उब्जनी हुन्छ । तर सिँचाइ नभएपछि हिउँदेबाली गहुँ ओइलाएको छ । अकासे–पानी आए गहुँलाई राहत हुने आशामा खनाल छन् । वाङ्लाकी विमला श्रेष्ठले जनसंख्या वृद्धि भएपछि पानी अभाव भएको बताइन् ।
‘पहिलो छरिएर रहेका बस्ती थिए, अहिले बाक्लो बस्ती छ,’ उनले भनिन्, ‘पानीका मुहान नजिकै छैनन् । भएको पानीले पुगेन ।’ धारामा आउने पानीले एक घरलाई एक गाग्री समेत नपुग्दा कुवा धाउनुपर्ने बाध्यता छ । पानी नभएपछि गाईवस्तु पाल्ने, बारीमा तरकारी उत्पादन गर्न सम्भव नभएको
उनको भनाइ छ ।
जेठसम्म हरियो तरकारी बारीमा देख्न पाइँदैन । बजारबाट काउली, बन्दा, खुर्सानी, मुला, सागलगायत तरकारी किनेर खानुपरेको उनले बताइन् ।

Page 10
अर्थ वाणिज्य

लकडाउनका बेला दैनिक भ्रमण भत्ता !

सरकारी कार्यालय बन्द रहेका बेला नापी कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईकाकर्मचारीले भ्रमणमा गएको भनेर अतिरिक्त रकम लिए
- माधव अर्याल

(पाल्पा) - नापी कार्यालय रामपुरका निमित्त नापी अधिकृत एवं कार्यालय प्रमुख रविन भट्टराई र सहलेखापाल हरिबहादुर थापाले लकडाउनकै अवधिमा दैनिक भ्रमण भत्ता लिएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्ने आन्तरिक लेखापरीक्षणबाट उनीहरूले लकडाउन अवधिमा भ्रमण भत्ता लिएको देखिएको हो ।
‘हामीलाई अन्य कार्यालयका कर्मचारी साथीहरूले भत्ता लिन मिल्छ भनेकैले लिएका हौं,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘लकडाउन भए पनि कार्यालयमा बसेर काम गरेका हौं । एक पटक इलाका प्रशासन कार्यालयको आग्रहमा निस्दी गएका थियौं ।’ निमित्त कार्यालय प्रमुख भट्टराईले भ्रमण प्रतिवेदन संलग्न नगरीकन दैनिक भ्रमण भत्ता लिएको आन्तरिक लेखापरीक्षणले औंल्याएको छ । उनले वैशाख ५ देखि ११ सम्मको ७ हजार ५ सय, २५ देखि २९ सम्मको ५ हजार १ सय, जेठ १२ देखि १७ र २२ देखि २७ सम्मको १२ हजार ६ सय रुपैयाँ लिएको देखिन्छ । सोही कार्यालयका सहलेखापाल थापाले पनि भ्रमण प्रतिवेदन पेस नगरीकनै चैत १५ देखि २० सम्मको ६ हजार ३ सय, वैशाख ८ देखि १३ को ५ हजार १ सय, वैशाख २४ देखि ३० सम्मको ६ हजार ३ सय, जेठ १४ देखि २० सम्मको ७ हजार ५ सय रुपैयाँ भ्रमण भत्ता बुझेको देखिएको छ । ‘तलबका लागि र मुख्य कार्यालय तानसेन जाँदाको भ्रमण भत्ता हो,’ भट्टराईले भने, ‘हामी लकडाउनमा पनि आउनेजाने गरेका थियौं ।’
लेखापाल र कार्यालय प्रमुखको भ्रमणको मिति भने मिल्दैन । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गर्ने आन्तरिक लेखापरीक्षणमा समेत भ्रमण पुष्टि गर्ने कागजात नै पेस नगरी दैनिक भ्रमण भत्ता लिएको भेटिएको छ । नापी कार्यालयका सेवासमेत सबै बन्द रहेको अवस्थामा भ्रमण आदेश स्वीकृत गरी रकम भुक्तानी लिएको भेटिएको हो । ‘लकडाउन भएका बेला हिँडेको र भ्रमण प्रतिवेदन नै संलग्न नगरी भुक्तानी लिएको दैनिक भ्रमण भत्ता रकम अनियमित देखिन्छ,’ कोलेनिका प्रमुख खेमराज घिमिरेले भने, ‘कि भ्रमण पुष्टि गर्ने कागजात पेस गरी नियमित गर्नुपर्छ, होइन भने सरकारी बाँकीसरह असुलउपर गर्नुपर्छ ।’
नापी कार्यालय रामपुरकै सहलेखापाल सूर्यप्रसाद गैरे र भट्टराईले अनियमित तवरले ८ हजार ७ सयसमेत सरकारी रकम भुक्तानी लिएको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा छ । सरकारी मोटरसाइकल प्रयोग गरी रामपुरदेखि तानसेनसम्म सरकारी कामकाजमा भ्रमण गर्दा त्यस्तो रकम लिएका हुन् । उनीहरूले फुटकर खर्चका नाममा विभिन्न मितिमा भुक्तानी लिएकाले कर्मचारीबाट असुल गर्न आन्तरिक लेखापरीक्षकले औंल्याएको छ ।
नापी कार्यालय रामपुरमै प्लट रजिस्टर स्क्यान गरी फाइल तयार गर्ने तथा नक्सालाई स्क्यान गरी डिजिटल प्रविधिमा रूपान्तरण गर्न अतिरिक्त समयमा काम गरेको भुक्तानी पनि अनियमित तवरले लिएको भेटिएको छ । आन्तरिक लेखापरीक्षकका अनुसार उमेश पौडेल, दीपन्द्र पन्थी राना, लालबहादुर सारू र गिरमाया घिमिरेलाई २० हजार ५ सय भुक्तानी दिइएको छ । तर उनीहरूको हाजिरी प्रमाणित गरिएको छैन । अतिरिक्त समय कामकाज गरेको अभिलेख/हाजिरीसमेत नभएको पाइएको छ । कार्यालय प्रमुख भट्टराईले भने उक्त रकम लकडाउनकै अवधिमा काम गरेबापत भुक्तानी गरेको दाबी गरे ।
लकडाउनकै अवधिमा शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक बमबहादुर थापाले पनि निस्दी गाउँपालिकाको भ्रमण गरेको भन्दै ८ हजार ५ सय भ्रमण भत्ता लिएका छन् । देशव्यापी लकडाउन अवधिमा कार्यालयका कुनै पनि स्वीकृत कार्यक्रम नभएको र भ्रमणका लागि आधिकारिक निकायको पाससमेत संलग्न नगरी उनी हिँडेको देखिएको हो । विद्यालयको क्वारेन्टाइन व्यवस्थापन अनुगमनबापत वैशाख २३ देखि २७ गतेसम्म निस्दी गाउँपालिकाको भ्रमण गरेको भन्दै उनले दैनिक भत्ता रकम भुक्तानी लिए पनि भ्रमण पुष्टि गर्ने कागजात पेस गरेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयको आन्तरिक लेखापरीक्षणमा उक्त नियमित गर्नुपर्ने लेखिएकाले महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण नगर्दै उक्त रकम फिर्ता गर्नुपर्ने र नगर्नेलाई सरकारी बाँकीसरह असुलउपर गर्ने व्यवस्था ऐनमा रहेको कोलेनिका प्रमुख घिमिरेले बताए ।
कोभिड–१९ को प्रभाव परेपछि सरकारले गरेको लकडाउनमा जिल्लाका सबै सरकारी कार्यालय बन्द रहे । २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म देशव्यापी लकडाउन थियो । यस अवधिमा अत्यावश्यकबाहेक सबै सरकारी तथा गैरसरकारी, उद्योग, व्यवसाय, शिक्षण संस्था, सार्वजनिक तथा निजी यातायात सबै सार्वजनिक संस्था पूर्ण रूपमा बन्द रहे । बिनापास सार्वजनिक, सरकारी, निजी यातायात चलेनन् । सर्वसाधारण नागरिकलाई समेत हिँडडुलमा रोक लगाइएको थियो ।

अर्थ वाणिज्य

उपत्यकाको वाणिज्य प्रदेशअन्तर्गत

- कान्तिपुर संवाददाता


घहेटौंडा (कास)– आन्तरिक आर्थिक कारोबारका हिसाबले बलियो देखिएको उपत्यकाका तीन जिल्लाको वाणिज्य प्रशासनको काम वाग्मती प्रदेश सरकार मातहत आएको छ । वाणिज्य विभाग मातहतबाट हुँदै आएको उपत्यकाका वाणिज्यतर्फका उद्योग तथा व्यवसाय दर्ता, नवीकरण, खारेजी, नामसारीको काम आइतबारदेखि वाग्मती सरकार मातहत आएका हुन् ।
गत पुस २३ को संघीय सरकारको निर्णयअनुसार उपत्यकाको वाणिज्य प्रशासन क्षेत्रको काम प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय भएको वाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । आइतबारदेखि नै काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ५ लाख रुपैयाँभन्दा माथिका व्यवसायको दर्ता, नवीकरण र खारेजीको काम प्रदेश सरकारले गर्न सुरु गरेको छ ।
मन्त्रालयमा वाणिज्य विभागका महानिर्देशक, उपत्यकाका तीन वटै जिल्लाका घरेलु कार्यालय प्रमुखसँगको भर्चुअल कार्यक्रममा आइतबार मुख्यमन्त्री डोरमणि पौडेलले विभागले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
प्रदेश सरकारबाट पनि सुविधामा कुनै कमी आउन नदिने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा वाणिज्य विभागका निर्देशक नेत्रप्रसाद सुवेदीले संघीयता कार्यान्वयनका क्रममा उपत्यकाको वाणिज्य प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । अहिले काठमाडौंमा मात्र दैनिक ३५ र उपत्यकामा ६० वटासम्म व्यावसायिक फार्म दर्ता हुने गरेका थिए । तीन जिल्लाको वाणिज्य प्रशासनबाट प्रदेश सरकारलाई वार्षिक करिब २० करोड रुपैयाँ थप राजस्व आउने अनुमान छ ।

अर्थ वाणिज्य

हवाई भाडा बढ्यो

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– आयल निगमले बुधबारदेखि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि निजी वायुयानहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडाअन्तर्गत फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेको छ । संघले प्रतिरुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म फ्युल सरचार्ज वृद्धि गरेको छ । संघले हवाई इन्धनको मूल्यमा आउने फेरबदलअनुसार हवाई भाडा पनि स्वचालित प्रणालीबाट घटबढ गर्छ । हवाई टिकटमा एयर फेयर (भाडा), फ्युल सरचार्ज र विमानस्थल सेवा शुल्क गरी तीन वटा शीर्षकमा यात्रुले भाडा तिर्नुपर्छ । शनिबारदेखि फ्युल सरचार्ज मात्रै वृद्धि भएको हो । वायुसेवा सञ्चालकहरूले भाडा थपघट गर्दा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले अनुमोदन गर्नुपर्छ ।

अर्थ वाणिज्य

चितवनबाट ग्लोबलको ट्राफिक जरिवाना भुक्तानी सेवा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– ग्लोबल आईएमई बैंकले चितवनको ट्राफिक जरिवानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी सेवा सुरु गरेको छ । बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको समझदारीअनुसार चितवनभर सवारी नियम उल्लंघन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंक शाखाबाट बुझाउन सकिन्छ । प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले उक्त सेवाको सुरुवात गरे ।

अर्थ वाणिज्य

सूर्या लाइफको 'सूर्या चौरासी पूजा’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बिमा योजना ल्याएको छ । ‘दीर्घ जीवन, समृद्ध भविष्य’ भन्ने सन्देशका साथ इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । शताब्दीपुरुष सत्यमोहन जोशीले बिमा योजनाको उद्घाटन गरे । यो योजनाले बिमितको उमेर ८४ वर्ष पुग्दासम्म रक्षावरण गर्नेछ । साथै बिमांकको २५० प्रतिशतसम्म बिमा कभर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Page 11
समाचार

‘टुँडिखेल जनताको हो’

‘तानाशाह जब डराउँछ, नागरिकका अगाडि आफूसँग भएको सबै शक्ति उतार्छ’
- खगेन्द्र संग्रौला

आन्दोलनमा आएका एक जना भाइले भने, नागरिक आन्दोलनमा नागरिकको उपस्थिति यति पातलो किन ? मैले भनें, नागरिक आन्दोलनको शक्ति नागरिकको टाउको गनेर थाहा हुँदैन । प्रहरी भाइबहिनीको टाउको गनेर नागरिक आन्दोलनको शक्ति नापिन्छ । आज यो सभामा जति नागरिकको सहभागिता छ त्योभन्दा बढी प्रहरीको सहभागिता छ । तसर्थ तानाशाह जब डराउँछ, नागरिकका अगाडि आफूसँग भएको सबै शक्ति उतार्छ । त्यसले प्रहरी पठाउँछ, सेना पठाउँछ, ट्यांक पठाउँछ, तोप पठाउँछ । त्यसैले नागरिक आन्दोलन तपार्इंहरू सबैको प्रयत्नबाट बलियो भएको छ ।
काठमाडौं सहर देशको राजधानी हो । कुनै पनि सहर, त्यसमा पनि राजधानी सहरका केही विशेषता र गुण हुन्छन् । पहिलो गुण, प्रत्येक सभ्य सहरमा एउटा पेटी हुन्छ जहाँ नागरिक एकअर्कालाई नछोईकन हिँड्न सक्छन् । साइकल लेन हुन्छ, जहाँ मानिस साइकल चलाउँछन् । सहरमा सडकका दायाँबायाँ रूख हुन्छन् । रूखले सहरलाई शोभा दिन्छ र नागरिकलाई स्वस्थ बनाउँछ । प्रत्येक सभ्य सहरमा पुष्प वाटिका हुन्छ, पार्क हुन्छ, जहाँ मानिस आराम गर्छन्, मनोरञ्जन गर्छन् । व्यवस्थित पुस्तकालय हुन्छ, व्यवस्थित नाट्यगृह हुन्छ । तर यो काठमाडौं सहरमा जे–जे हुनुपर्ने, त्यो छैन । जे–जे हुनु नपर्ने, त्यही छ । हुनु नपर्ने एउटा के हो भने राजधानी सहरको बाक्लो बस्तीको बीचमा जंगी अड्डा छ । कुनै पनि सभ्य सहर, बाक्लो बस्तीका बीचमा जंगी अड्डा हुँदैन । जंगी अड्डामा बारुदको थुप्रो हुन्छ, जिलेटिन हुन्छ, बम हुन्छ । बन्दुक हुन्छ, मेसिनगन हुन्छ । त्यसले विनाश गर्छ । संसारैभरि तानाशाह जहिल्यै जनतासँग डराउँछन् । तानाशाह जब जनतासँग डराउँछन् तब तिनले प्रहरी र सेनाको जमात् लगाउँछन् ।
शाह राजाहरूले आफ्नो नोकरका रूपमा पालित पोषित हुर्काएको सेना हो । पछि त्यसको नाम नेपाली सेना भएको छ । तानाशाह जब डराउँछ, त्यसले आफ्नो बलेसीमुनि अड्डा बनाउँछ । यो जंगी अड्डा पनि त्यसैगरी बनाइएको हो । हामी आज टुँडिखेल हाम्रो भन्न आएका छौं । अघिल्लो नागरिक आन्दोलनमा रत्नपार्क हाम्रो हो भन्न आएका थियौं ।
कुनै पनि देशको सेना बस्तीभन्दा धेरै टाढा बस्छ । सेना सामान्यतः नागरिकले देख्ने गरी कहिले पनि आउँदैन । दुई अवस्थामा मात्र आउँछ– ठूलो प्राकृतिक विपत्ति भएपछि राहत बाँड्न अथवा गृहयुद्ध वा सिमाना युद्ध हँॅदा । सैनिक जवानहरू बिहान–बिहान आई लभ यु भन्दै सहरमा कुद्दैनन् । त्यसैले यो सेना नेपालका शासकहरूको बर्बरताको प्रतीक हो । यो सेना सहरको असभ्यताको प्रतीक हो । यो सेनाले नागरिकले घेर्ने, डुल्ने टुँडिखेल पनि कब्जा गरेको छ ।
आज हामीलाई टुँडिखेलमा पस्न दिइएन । हाम्रो डरले बालुवाटारको आदेशमा टुँडिखेलका सबै ढोका बन्द भएका छन् । तानाशाहले जहिले पनि अधिकार खोस्न चाहन्छ, जीवनलाई सीमित बनाउन चाहन्छ, सबैलाई कमारो बनाउन चाहन्छ । त्यसैले आज हामीले टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौं । टुँडिखेल नागरिकको हुनेछ । सधैंभरि यसरी नै बन्द भयो भने टुँडिखेलको ढोका फोरिनेछ । यो सहरमा बसिरहेका सभ्य नागरिकले टुँडिखेललाई पार्क, पुष्प वाटिका, वृद्धवृद्धा आराम गर्ने, मनोरञ्जन गर्ने, केटाकेटी खेल्ने ठाउँ बनाउन टुँडिखेल कब्जा गरिनेछ । टुँडिखेललाई पार्कमा परिणत गरिनेछ ।
हामी त्यो कुरा भन्दैनौं, सेना प्रतीकात्मक रूपमा भए पनि देशका लागि आवश्यक छ । नेपालका लागि यत्रो सेना आवश्यक छ कि छैन, त्यो बहसको विषय होला । यो सेना जहाँ राखिएको छ, त्यो सेनाको ठाउँ होइन । नागरिकको आवाज, दबाब र हुंकारले सैनिक अड्डा सहरको बीचबाट कतै एकान्तमा सारिनेछ । जंगी अड्डा एकान्तमा हुनुपर्छ । त्यसले पेसाअनुसार आफ्नो गोप्यता कायम गर्दै काम गर्ने हो ।
जोसुकैले जेसुकै भने पनि भन्ने कुरा जम्मा यत्ति हो, टुँडिखेल नागरिकको हो, टुँडिखेल नेपालीको हो । टुँडिखेलबाट जंगी अड्डा पन्छिनुपर्छ । जंगी अड्डा पन्छिएन भने टुँडिखेलबाट लखेटिनेछ ।
टुँडिखेल जब खाली हुन्छ, यो पार्क बन्नेछ, पुष्प वाटिका बन्नेछ । काठमाडौं राजधानीका निम्ति त्यो शोभायमान पनि बन्नेछ । मानिसको स्वास्थ्य र मनोरञ्जनका लागि उपयुक्त ठाउँ
पनि हुनेछ ।
(संग्रौलाले टुँडिखेल मार्चमा गरेको सम्बोधन)

Page 12
खेलकुद

एपीएफको च्याम्पियन शैली

एपीएफले आर्मीलाई ३–० ले पन्छाउँदै शतप्रतिशत जितसहित महिला राष्ट्रिय लिगको उपाधि उचाल्यो ।
- राजु घिसिङ

(काठमाडौं) - घरेलु महिला फुटबलमा पहिलोपल्ट टिम बनाउने श्रेय एपीएफलाई जान्छ । नेपालले पहिलोपल्ट एएफसी वुमेन्स च्याम्पियनसिप सन् २००४ (२०६१ साल) मा खेलेको थियो । जमुना गुरुङ, अनु लामा, भगवती थापालगायत चीनमा खेलेको त्यही टिमका अधिकांश खेलाडीलाई आबद्ध गर्दै एपीएफले २०६२ सालमा महिला टिम बनायो । अर्को वर्षदेखि प्रतियोगिता खेलेसँगै त्यो टिमले मैदानमा प्रभाव देखाउन थालेको हो । खेलेका प्रायः सबै प्रतियोगिताको ट्रफी एपीएफले प्रतिस्पर्धीलाई उठाउन दिएन ।
२०६९ सालमा पहिलो राष्ट्रिय लिग धनगढीमा भयो । यसमा भने अन्तिम खेलमा पुलिससँग १–० ले हारेपछि एपीएफले उपाधि नै गुमाउनुपरेको थियो । धेरै वर्षपछिको त्यो हारसँगै एपीएफ ओरालो लाग्न थाल्यो । घुँडाको शल्यक्रियापछि जमुनाले पनि खेल्न छाडिन् । पहिलो टिमको पुस्ता सकिँदै जाँदा एपीएफको प्रदर्शन नै खस्किँदै गयो । लमजुङकी सावित्रा भण्डारी ६ वर्षअघि भित्रिएसँगै एपीएफ फेरि बलियो बन्यो । महिला फुटबलमा फेरि सबैभन्दा प्रभावशाली देखियो । त्यो लय कायम राख्दै एपीएफले शतप्रतिशत जितसहित यसपालि महिला राष्ट्रिय लिगको उपाधि कब्जा गर्‍यो । एपीएफले दशरथ रंगशालामा चिरपरिचित प्रतिद्वन्द्वी आर्मीलाई ३–० ले पन्छाउँदै शुक्रबार लिग उपाधि ह्याट्रिकलाई पूर्णता दियो ।
सबै (१२) खेल जितेको एपीएफले पूरा ३६ अंक नै जोड्यो । दुई खेलअघि नै उपाधि निश्चित गरेको एपीएफले अन्त्यमा आर्मीलाई १० अंकले पछाडि पार्‍यो । पुलिसको अंक त एपीएफको भन्दा आधामात्रै भयो । क्यामरुनका चार खेलाडी ल्याएपछि स्याङ्जाको वालिङ नगरपालिकाले पनि राम्रै गर्‍यो, चौथो (१७ अंक) भयो । भारतबाट चार खेलाडीलाई भित्र्याएको विराटनगर (१६ अंक) ठीकै देखियो । मोफसलका टिममध्ये सबैभन्दा अगाडि रहने लक्ष्य राखेको रौतहटको चन्द्रपुर (९ अंक) पनि फितलो नै रह्यो । महिला खेलाडी उत्पादनका लागि उर्वर थलो भएर पनि चन्द्रपुरले नतिजामा त्यसलाई उतार्न सकेन । चौदण्डीगढी त बिचरा नै देखियो । अंक जोड्न असफल रहेको उदयपुरको यो टिम अरूका गोलको वर्षात् गर्ने अवसरमात्रै बन्यो ।
महिला फुटबलमा विभागीय टिमहरू एपीएफ, पुलिस, आर्मीले रजाइँ गरिरहेका छन् । यसपालिको लिगमा पनि शीर्ष तीनमा विभागीय टिम नै रहे । तर, पुलिसको प्रदर्शन खस्कियो । आर्मी भने केही बलियो र आधुनिक फुटबल खेल्न सक्ने टिम बनेर आयो । आर्मी र पुलिसले एपीएफलाई उपाधि होडमा चुनौती दिने अपेक्षा गरिएको थियो तर, त्यस्तो भएन । पहिलोपल्ट आयोजित ‘डबल लिग’ को पहिलो भेटमा आर्मीले एपीएफलाई टक्कर दिएको थियो । स्टार फरवार्ड सावित्रा रोकिए पनि मञ्जली योञ्जन र सरु लिम्बूको गोलमा एन्फा कम्प्लेक्सको खेल एपीएफले २–० ले जितेको थियो । एपीएफको तेस्रो खेलमात्रै भए पनि त्यही प्रदर्शनबाट एपीएफले च्याम्पियन बन्ने संकेत दिएको थियो । पुलिसविरुद्ध ‘दोस्रो लेग’ मा २–१ को जित हात पार्न एपीएफले संघर्ष गर्नुपर्‍यो । तर, उसलाई बाँकी खेल जित्न गाह्रो भएन । चौदण्डीविरुद्ध त दुई खेलमा ३६ गोल (२२–० र १४–०) नै गर्न भ्यायो ।
सात ह्याट्रिकसहित ४३ गोल गरेकी सावित्राले दसौं खेलमा आएर पुलिसविरुद्ध चोट बोक्दै ६९ औं मिनेटमा मैदान छाडेकी थिइन् । दायाँ घुँडामा एसीएल र मिडियल मिनिस्कसको शल्यक्रिया गर्नुपर्ने भयो, करिब ९ महिना मैदानबाहिरै रहने भइन् । अनि आर्मी पुलिसविरुद्ध १–१ मा रोकिएपछि एपीएफ दुई खेलअघि नै च्याम्पियन भयो । उपाधि सुरक्षित गरेलगत्तै सावित्राबिना एपीएफलाई विराटनगरमाथि १–० को जित निकाल्न निकै गाह्रो भयो । त्यसैले हुन सक्छ, आर्मीले उसको जितको शृंखलालाई अन्तिम खेलमा आएर पूर्णविराम लगाउने योजना बनाएको थियो । तर, सरु लिम्बूको प्रेरणादायी खेलअघि आर्मी कमजोर साबित भयो । तीनै गोलमा आर्मीकी ‘गल्ती’ एपीएफलाई योगदान बन्यो ।
लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित सरुले ४५ औं मिनेटमा अनिता केसीको पासमा पेनाल्टी क्षेत्रको ठीकभित्रबाट आकर्षक गोल गर्दै एपीएफलाई १–० को अग्रता दिलाइन् । अनिताले मञ्जलीको क्रसमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले पर्खिरहेको बललाई हेडद्वारा जाली चुमाउँदै ८६ औं मिनेटमा अग्रता दोब्बर बनाइन् । सरुले मैदानको मध्यभागमा विपक्षी खेलाडीसँग खोसेर दिएको बललाई मञ्जलीले क्रस गरिन् । अर्को गोल चार मिनेटको इन्ज्युरी समयको अन्तिममा भयो । अनिता केसीको हेडरमा अञ्जनाले बल रोकिन्, जसलाई करिब २५ यार्डबाट सरुले सिधै गोलमा परिणत गर्दै एपीएफलाई ३–० को जित दिलाइन् । आर्मीले एउटा पनि गतिलो अवसर बनाउन सकेन ।
च्याम्पियन एपीएफले १५ लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता आर्मीले ८ लाख, तेस्रो भएको पुलिसले ५ लाख र चौथो वालिङले ३ लाख पाए । फेयर–प्ले अवार्ड पाएको चन्द्रपुरले १ लाख ५० हजार हात पार्‍यो । उत्कृष्ट घोषित प्रशिक्षक भगवती थापा (एपीएफ), गोलकिपर उषा नाथ (पुलिस), डिफेन्डर अमृता जैसी (पुलिस), मिडफिल्डर विमला चौधरी (आर्मी) र फरवार्ड सावित्रा भण्डारी (एपीएफ) लाई ५०–५० हजार दिइयो । लिगकै सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बूले यामाहा स्कुटर प्राप्त गरिन् ।

माथिल्लो स्तर
लिगको तयारीमै घुँडामा चोट बोकेकी डिफेन्डर हीराकुमारी भुजेल सुरुतिर मैदानमा देखिएकी थिइन् । चोटमुक्त नभएपछि उनी ‘बेन्च’ मै सीमित भइन् । सिर्जना चेम्जोङले हीराको खासै अभाव महसुस गर्न दिइनन् । दसौं खेलमा आएर सावित्रालाई गम्भीर चोट लाग्यो । उनीबिना पनि रबिना गोलेको गोलमा एपीएफले पुलिसलाई २–१ ले हरायो । लिगको उपाधिमा पहिलो ह्याट्रिककर्ता बन्ने एपीएफको आधार त्यही थियो ।
राइट–ब्याक मनमाया लिम्बू, विंगर मञ्जलीको करार लिग नजिकमात्रै एपीएफले नवीकरण गरेको थियो । एपीएफलाई खास समस्या गोलकिपरमा थियो । अरू टिममा २३ खेलाडीमध्ये तीनजना किपर थिए भने एपीएफमा दुई जनामात्रै । राष्ट्रिय टिमकी पहिलो रोजाइकी एन्जिला तुम्बापो सुब्बा र रूपा रानामगरले लिग धान्नुपर्ने अवस्था थियो । एन्जिला अनुभवी पनि हुन् भने रूपाले गोलपोस्ट सम्हाल्ने मौका कमै पाएकी थिइन् । त्यसैले हुनुपर्छ, एपीएफले चौदण्डीविरुद्ध दुवै खेलमा एन्जिलालाई आराम दिएर रूपालाई खेलाइएको थियो । विराटनगरविरुद्ध ७–० (पहिलो लेग) मा पनि दोस्रो हाफमा रूपाले पोस्टको सम्हालेकी थिइन् ।
एपीएफको पोस्टमा विपक्षीले कमै आक्रामण गरे । उसले ११ खेलमा विपक्षीलाई गोल गर्न दिएन । यू–१७ विश्वकप खेलेकी वालिङकी क्यामरुनी फरवार्ड मेथो रुथ पनि एपीएफविरुद्ध गोल गर्न असफल भइन् । तर, एपीएफ र एन्जिलाको गोलविहीन यात्रालाई पुलिसकी अमृता जैसीले पूर्णविराम लगाइदिइन् । विराटनगरमा दुई वर्षअघि भएको महिला साफ च्याम्पियनसिपमा नेपाली टिमको विंग्समा अनिता बस्नेत र मञ्जली योञ्जन खुबै चलेका थिए । तर, यो लिगमा त्यस्तो क्रस, पास र गोल यी दुईबाट देखिएन ।
पास खेल्ने शैली, मिडफिल्डमा पकड, विपक्षीमाथि निरन्तर आक्रमण र बलियो फरवार्डलाई पनि नियन्त्रणमा राख्ने डिफेन्सको प्रदर्शन हेर्दा एपीएफ लिगकै सबैभन्दा बलियो टिम हो । अनिता–मञ्जली धारिलो नहुँदा सेन्ट्रल मिडफिल्डर सरु परिपक्व भएर आइन् । उनको सटीक पास, अचुक प्रहार, बल खोस्ने कला र ट्याकल मन लोभ्याउने खालको रह्यो । मिडफिल्डमा रेनुका नगरकोटेको प्रदर्शन पनि कम थिएन । अनिता केसी केसीले ५, अनिता बस्नेतले ८ गोल, अनुभवी अनु लामाले ६ गोल गर्दै अग्रपंक्तिमा सावित्रालाई साथ दिएका थिए ।
आर्मी दुवै खेलमा पुलिसँग बराबरीमा रोकिनु एपीएफको भाग्य पनि हो । त्योभन्दा बढी खेलाडीको मिहिनेत र कौशल, दशकयता एउटै टिममा खेलेका अनुभवी र नयाँ खेलाडीको संयोजनले एपीएफ च्याम्पियन भएको हो । त्यसैले त एपीएफ लिगका सात टिममध्ये अर्कै अर्थात् मथिल्लो स्तरको टिम प्रस्टै देखियो, साबित भयो ।

प्रीतिको प्रभाव
लिगबाटै एपीएफ पुगेकी १६ वर्षीया प्रीति राईले तीन खेलमात्रै पहिलो रोजाइमा खेलिन्, बाँकीमा दोस्रो हाफमा मौका पाइन् । उनले हरेक क्षण मैदानमा आफूलाई सिद्ध गरिन् । विशेषगरी उनको पास र प्रहार सुझबुझपूर्ण थियो । उनको प्रवेशसँगै एपीएफले आक्रामक रूप लिएको प्रस्टै देखिन्थ्यो ।
कागजी रूपमा लिगकै एकमात्र महिला मुख्य प्रशिक्षक हुन् भगवती थापा । उनले लिगकै उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि हात पारिन् । तर, टिम सहायक प्रशिक्षक जनकसिंह थारूको निर्देशनमा चल्थ्यो । उनले परिस्थितिअनुसार ४–४–२ र ३–५–२ को संरचनामा टिमलाई उतारेको थियो । तीन डिफेन्स हुँदा निशा थोकर मैदानबाहिर हुन्थिन् भने मञ्जली–प्रीति–रेनुका–सरु–अनिता बस्नेत मिडफिल्डमा । एक महिना चलेको लिगमा एपीएफका सबै खेलाडीले धेरथोर खेल्ने मौका पाए । दस वर्षअघि राष्ट्रिय टिममा रहेकी रञ्जना दर्जी पनि मैदानमा ओलिइन् । यसैपालि सुष्मा तामाङ, सुस्मिता तामाङ, रोशनी बोहरा क्षत्री एपीएफ पुगेकै सिजन लिग च्याम्पियन भए ।

खेलकुद

लिगलिगकोटमा ‘साइकल सरर’

- कान्तिपुर संवाददाता

(गोरखा) - एपीएफका लक्ष्मण मल्लले प्रथम लिगलिग साइकल दौडको उपाधि जितेका छन् । निर्धारित ५२.९ किलोमिटर दूरी उनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पार गर्दै उपाधि जिते ।
जितपछि धादिङका लक्ष्मणले मिहिनेतले उपाधि जितको खुसी दिलाएको सुनाए । साइक्लिङका लागि लिगलिगकोट क्षेत्र उपयुक्त रहेको पनि उनले माने । ‘माउन्टेन बाइक भन्नेबित्तिकै उकालो ओरालो भइहाल्छ । टर्निङ, अफ रोड यसैमा मज्जा आउँछ,’ लक्ष्मणले भने ।
लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपीपल, हर्मी भन्ज्याङ, मुकुनडाँडा, अस्पताल, वनटार, भण्डारथोक, चेपेपुल, गरमबेंसी, चेपेघाट दोभान, हवाई ग्राउन्ड, तालपोखरी, कालमाटा, पालुङटार नगर कार्यालय,
बाह्रपिर्के, लुइँटेल, बटडाँडा, बोहोरागाउँ, बिजुलीडाँडा, खोल्ली
हँॅुदै फेरि लिगलिगकोटमा पुगेर टुंगिएको थियो ।
दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कञ्चनपुरका हिमाल टमाटा दोस्रो बने । ललितपुरका ओकेशराज वज्राचार्य तेस्रो भए । उनले २ घण्टा ३६ मिनेट ५६ सेकेन्डमा दूरी पार गरे । खुला साइकल दौडमा १६ महिला र ६२ पुरुषले भाग लिएका थिए ।
महिलातर्फ एपीएफकै सोनी गुरुङ प्रथम बनिन् । निर्धारित ५२.९ किलोमिटर दूरी उनले दुई घण्टा ५६ मिनेटमा पार गरिन् । ३ घण्टा २ मिनेट ९ सेकेन्डमा दूरी पार गर्दै नुवाकोटकी लक्ष्मी मगर दोस्रो बनिन् । लक्ष्मी १३ औं सागकी स्वर्ण विजेता खेलाडी हुन् । ३ घण्टा ९ मिनेट ३० सेकेन्डमा यात्रा पार गर्दै गोरखाकी उषा खनाल तेस्रो भएकी छन् । पुरुष र महिलातर्फ समान रूपमा प्रथम हुनेले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार पुरस्कार पाए ।
प्रदेशस्तरमा गोरखाकी उषा विजेता भइन् । लमजुङकी केशरी थापा मगर दोस्रा र कास्कीकी जमुना थापा तेस्रा भए । पुरुषतर्फ कास्कीका सन्दीप सुन्डौली, गोरखाका लेखप्रसाद भट्ट र पालुङटारका शिव श्रेष्ठ शीर्ष तीन स्थानमा विजयी भए ।
आयोजक लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जीव रानाले पालुङटार नगरपालिकासँगै छिमेकी सिरानचोक र लमजुङको राइनस नगरपालिकाको केही भाग समेटेर साइकल ट्रेलका रूपमा विकास गरिएको बताए । ‘साइकल यात्रीका लागि यो ठाउँ उपयुक्त छ भनेर परिचित गराउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौं,’ रानाले भने । वातावरणीय संरक्षण तथा युवालाई गाउँप्रति मोह जगाउन यस्ता प्रतियोगिता सहयोगी बन्ने उनले अपेक्षा थियो ।
लिगलिगकोटको इतिहास, मौलिक संस्कृति जगेर्ना, वातावरण संरक्षणको सन्देश दिन तथा वातावरणमैत्री साइकल संस्कारको विकास र विस्तार गर्ने उद्देश्यले साइकल दौड आयोजना गरिएको उनले बताए । पछिल्लो समय साइकल यात्रा गर्नेको
संख्या बढेको छ । प्रतियोगितामा ११ वर्षे सुयोगमान सिं बस्न्यातले पनि भाग लिएका थिए । ‘साइक्लिङ
स्वस्थ वातावरणमा फन हुन्छ,’
उनले भने, ‘साइक्लिस्ट बनेर घुम्ने लक्ष्य छ, स्वास्थ्यका लागि राम्रो, फन पनि हुने ।’
दौडिएर राजा बन्ने प्रचलनका रूपमा लिगलिगकोट परिचित रहेकाले खेलकुदमार्फत पर्यटक भित्र्याउन प्रतियोगिता आयोजना गरिएको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए । ‘साइकल दौड नितान्त नयाँ हो, एडभेन्चर टुरिजमसँग जोडेर यहाँको खेलक्षेत्रको विकास गर्न साइकल दौड गरेका हौं,’ उनले भने ।

खेलकुद

मनकामनालाई मेयर कप

- कान्तिपुर संवाददाता


रौतहट (कास)– मनकामना युवा क्लब रौतहटले दुई लाख पुरस्कारसहित मेयर प्रदेश २ एन्फा लिग फुटबलको ट्रफी जितेको छ । शेरबहादुर दर्लामी खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा रौतहटले बेङ्गखण्डी युवा क्लब महोत्तरीलाई २–१ ले हराउँदै उपाधि जितेको हो । उपविजेता महोत्तरीले १ लाख रुपैयाँ पुरस्कार थाप्यो ।
घरेलु मैदानमा रौतहटले उपाधि जित्न निकै मिहिनेत गर्नुपरेको थियो । दोस्रो हाफको २३ औं मिनेटमा दीपेन श्रेष्ठको गोलबाट महोत्तरीले खेलमा अग्रता लियो । खेल बराबरी गर्न रौतहटलाई चुनौती भयो । टोलीका विवेक चाम्लिङ राई घाइते भए । उनको स्थानमा मैदान छिरेका अभि पहरीले प्रदीप तमाङको पासमा ३३ औं मिनेटमा आकर्षक गोल गरेर खेल बराबरीमा पुर्‍याए । त्यसपछि ४३ औं मिनेटमा रौतहटका वैकल्पिक खेलाडी धिरोज माझीले एक गोल गरे, जुन निर्णायक बन्यो । उनी विपिन श्रेष्ठको स्थानमा मैदान छिरेका थिए । म्यान अफ द म्याच रौतहटका प्रताप तमाङ भए । उनले ५ हजार पाए । विधागत उत्कृष्टतर्फ मिडफिल्डरमा रौतहटका विवेक चाम्लिङ राई, डिफेन्डरमा महोत्तरीका दीपेन श्रेष्ठ, फरवार्डमा महोत्तरीका कृष्ण राना र गोलकिपरमा रौतहटकै अनिश थापामगर चुनिए । उनीहरूले जनही १० हजार पाए । रौतहटका कप्तान शिव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी भए । उनले मोटरसाइकल पुरस्कार पाए ।

खेलकुद

रंगशाला बनाउन ललितपुरको २० लाख

- कान्तिपुर संवाददाता


ललितपुर (कास)– ललितपुर महानगरपालिकाले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरले धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार उक्त रकमको चेक प्रदान गर्‍यो । महानगर प्रमुख चिरीबाबु महर्जनले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई चेक हस्तान्तरण गरे । नगरप्रमुख महर्जनले रंगशाला निर्माणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ख्याति दिने बताए । अध्यक्ष कट्टेलले हाल रंगशाला मैदानको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र १४ महिनाभित्र रंगशाला निर्माणको काम पूर्ण सम्पन्न हुने जानकारी गराए ।