You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

चीनबाट ३० लाख खोप ल्याइँदै

- मकर श्रेष्ठ

(काठमाडौं) - 
सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज
चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताए ।
सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । एक मात्राको १४ डलरमा खरिद गरेको दाबी स्रोतको छ ।
जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो ।
सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । पहिलो मात्रा लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना दोस्रो मात्राको पर्खाइमा छन् । त्यस्तै अन्य मुलुकसँग पनि खोप ल्याउने चर्चा मात्र भएको छ, परिणाम निस्केको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा कोरोना भाइरसविरुद्धको खोप अभाव नहुने बताएका छन् । ‘अब भ्याक्सिनको समस्या छैन, पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ,’ बैठकमा ओलीले भने, ‘भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिइङ गरिरहेका छन् ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको भेरोसेल खोप खरिदको सम्झौता गरे पनि गुपचुप राखेको थियो । प्रधानमन्त्रीले तीन दिनभित्र खोप आउने बैठकमा जानकारी गराएपछि मन्त्रालयले हतारिँदै शुक्रबार साँझ विज्ञप्ति जारी गरेर चीनमा खरिद गरेको खोप ल्याउन लागेको सार्वजनिक गरेको हो ।


प्रधानमन्त्रीले गत असार २ मा कोभिड–१९ निर्देशक समितिको बैठकमा चीनबाट ४० लाख खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने जानकारी गराएका थिए तर वायुसेवा निगमले तीनपटकमा ३० लाख खोप ल्याउन जहाज पठाउन लागेको जनाएको छ ।
‘खोप खरिदको सम्झौताअनुसार असार २४ बाट सुरु भएपछि साप्ताहिक रूपमा खोप आपूर्ति गर्ने तयारी छ,’ स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ । जहाजले शुक्रबार १० लाख मात्रा खोप ल्याउने महानिर्देशक पौडेलले बताए । दोस्रो चरणमा असार ३१ मा जहाज पठाएर साउन १ मा १० लाख डोज ल्याइनेछ । तेस्रो चरणमा साउन ७ मा जाने जहाजले भोलिपल्ट अर्को १० लाख डोज खोप ल्याउनेछ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने व्यवस्था मिलाइने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । चीनबाट खरिद गरेको बाहेक गाभी कोभ्याक्स सुविधाको खोप पनि छिट्टै प्राप्त हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले बैठकमा जानकारी गराउनु अघिसम्म खोप ल्याउन लागेको कुरा बेखबरजस्तै गर्ने स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारी खोप भण्डारण स्थलको व्यवस्थापनमा जुटेका छन् । ‘कहिले खोप आउने भन्ने कसैलाई जानकारी दिएका थिएनन्, प्रधानमन्त्रीज्यूले बोलेपछि अब भण्डारण कहाँ कसरी गर्न सकिन्छ भनेर तयारीमा जुटेका छौं,’ विभागका एक कर्मचारीले भने, ‘टेकुस्थित केन्द्रीय भण्डारणमा मात्रै अटाउन नसके सिधै प्रदेशमा लैजाने व्यवस्था मिलाउँदै छौं ।’ १० लाख मात्रासम्म केन्द्रीय भण्डारणमा राख्न सकिने विभागले जनाएको छ ।
चीन र भारतबाट अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार र सरकारले भारतबाट खरिद गरेको १० लाखसहित ४२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । यसमध्ये २६ लाख ४ हजार ८ सय ६६ जनाले पहिलो मात्रा लगाएका छन् भने ७ लाख ५७ हजार ६ सय ३५ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् । पहिलो मात्रा लगाउनेमा १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ७६ हजार ३ सय २८ जनाले भेरोसेल खोप लगाएका छन् । दोस्रा मात्रा लगाउनेमा ४ लाख ५९ हजार ६ सय २५ जनाले कोभिसिल्ड र २ लाख ९८ हजार १० जनाले भेरोसेल खोप लगाएका छन् । चीनले दोस्रोपटक उपलब्ध गराएको खोपको पहिलो मात्रा लगाएकालाई असार २२ देखि दोस्रो मात्रा लगाइने कार्यक्रम सार्वजनिक भइसकेको छ । सरकारले जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई असार २२ बाट दोस्रो मात्रा खोप लगाइने बताए ।

मुख्य पृष्ठ

रोकियो वैदेशिक रोजगार, कैयौं अलपत्र

- कान्तिपुर संवाददाता

 

उनी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा छट्पटिँदै बसेका छन् । उनी डिजाइनर हुन् । कम्पनीलाई अनुरोध गरेर बल्लतल्ल भिसा मगाए । यसैबीच कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भयो । त्यसपछि खोप लगाएका कामदारलाई मात्र कतार प्रवेश अनुमतिको नियम लागू भयो । खोप लगाउन नपाएकाले कतार जान रोकिँदा उनी पिरोलिएका हुन् ।
स्वास्थ्य कार्यालयसम्म पुगेर हारगुहार नगरेका होइनन् । तर सीमित
खोप, त्यसमा पनि फ्रन्टलाइनर र वृद्धवृद्धामात्रै सरकारको प्राथमिकतामा रहँदा उनले लगाउन पाएनन् । कपिलवस्तु–१ बहादुरगन्ज चोकका ३२ वर्षीय नूर मोहम्मद पनि कतारको
भिसा हुँदाहुँदै उड्न नपाउने स्थितिमा छन् । दोहामा भ्यानचालक काम
गर्न भिसा पाएका उनी खोप लगाउन नपाएकै कारण जानबाट वञ्चित भएका छन् । ‘बडो संघर्ष गरेर भिसा आयो,’ उनले भने, ‘खोप नलगाएकालाई कतार आउन नदिने भनेपछि वर्ष दिन संघर्ष गरेर पाएको भिसा पनि काम नलाग्ने भएको छ ।’
उनीहरूजस्तै जिल्लाका ३० जनाभन्दा बढी कामदार अहिले खोपकै कारण खाडी मुलुक जानबाट वञ्चित भएका छन् । खाडीका मुलुकले खोप लगाएका कामदार मात्रै लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिकलाई मर्का परेको हो । सरकारले एक त खोप नै भित्र्याउन सकेको छैन, त्यसमाथि छिटपुट आएका मात्रामा पनि वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पाउने प्राथमिकतामा राखेको छैन । स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, सञ्चारकर्मी, ज्येष्ठ नागरिकलगायतलाई मात्र खोप दिएको छ । ‘भिसाको म्याद सकिन महिना दिन बाँकी छ,’ गौरीले
भने, ‘अब जान नपाउने पक्कापक्कीजस्तै छ ।’ कम्पनीले पठाएको भिसाको म्यादमा जान नपाए पुनः बोलावट नआउने उनलाई चिन्ता छ ।
‘खोप कहिले लगाउन पाइन्छ भन्दै रेडियो सुनेर बस्छु,’ नूर मोहम्मदले भने । खोप ल्याएर सहज बनाउनेतर्फ सरकारको तयारीका खबरले ढुक्क नलाग्दा निद्रा आउन पनि छोडिसकेको उनले सुनाए । डेढ वर्षअघि नेपाल फर्केका उनी अहिले कमाइ नभएपछि फेरि रोजगारीका लागि कतार जान लागेका हुन् । दुबईमा
होटल म्यानेजमेन्ट पढेकी यहाँकी किरण निरौला पनि काम गर्न अवसर पाएर उतै जान हतारिएकी छन् । ‘हातमा भिसा आइसकेको छ,’ उनले भनिन्, ‘खोप लगाउन नपाउँदा जान पाउने कि नपाउने अनिश्चित छ ।’ संयुक्त अरब इमिरेट्स (यूएई), कतार र साउदी अरबले खोप नलगाएका कामदारलाई प्रवेश निषेध गरेको छ ।
रूपन्देहीको बुटवल–१२ ढवाहाका
२८ वर्षीय विनोद दर्नालसँग कतारको भिसा छ । तीन वर्ष मलेसिया बसेका उनी कम्पनी बन्द भएपछि फर्किएका हुन् । अहिले कतार जाने तयारीमा
थिए । ‘हातमा भिसा छ तर खोप नलगाई
जान पाइँदैन भनेर रोकिदिए,’ उनले
भने, ‘खोप नपाएर श्रम स्वीकृतिसमेत लिन पाइएन ।’

विदेशमा मजदुरी गर्नेको रेमिट्यान्सले खर्च चले पनि राज्यले बेवास्ता गर्दा नागरिक हुँजस्तो भान नभएको उनले गुनासो गरे ।
सैनामैना–७ रामापुरका कृष्णप्रसाद घिमिरे नौ वर्षदेखि जापानमा थिए । बिदामा घर आएका बेला निषेधाज्ञामा परे । गत वैशाख २८ गतेका लागि काटेको टिकटमा उड्न पाएनन् । उनी संक्रमित भए । ‘खोप लगाएर बस्न पाएको भए कोरोना लाग्दैनथ्यो होला,’ उनले भने । बिदामा आउँदासमेत खोप नपाएर असुरक्षित भएपछि भिसा क्यान्सिल गरेर बस्नुपरेको उनको गुनासो छ । संक्रमित भएकाले खोप नलगाई जान नपाइने भएकाले पर्खाइमा रहेको उनले बताए । तिलोत्तमा–६ का अमृत क्षत्री खोप लगाउन नपाएर पीडित छन् । विदेशबाट सबै कागजपत्र आए पनि खोपको कार्ड नहुँदा जान नपाएको उनले बताए । उनले भने, ‘खोपलाई अनिवार्य बनाएकाले जान पाइएन ।’
स्थानीय प्रशासन भने विदेश जाने पर्खाइमा बसेकाहरूबारे बेखबर छ । संघीय सरकारबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक संकलन गर्न निर्देशन आएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘कति जना जाँदै हुनुहुन्छ भन्ने यकिन तथ्यांक निकालीहाल्न सक्दैनौं,’ उनले भने, ‘प्रशासनमा निवेदन दर्ता गर्न सुझाएका छौं, सोहीअनुसार खोप माग गर्न सहज हुन्छ ।’ स्वास्थ्य मन्त्रालयबाट निर्णय भएर खोप नआउन्जेल आफूहरूले केही गर्न नसक्ने भन्दै उनले यहाँ दर्ता भएका, जानकारीमा आएका मानिसको संख्या टिपाएर खोप आउनेबित्तिकै उनीहरूलाई लगाइदिने बताए । पाल्पाको रामपुर–५ भम्बकका कुलबहादुर खत्री दुबईबाट घर आएको पाँच महिना भयो । कोरोनाविरुद्धको खोप लगाउन नपाएर काममा फर्किन पाएका छैनन् । खोपको खोजीमा काठमाडौं, पोखरा, पाल्पाका धेरै ठाउँ दौडधुप गरेको उनले सुनाए । ‘कम्पनीले खोप लगाएर आउन भनेको छ तर जहाँसुकै धाउँदा पनि खोप लगाउन पाइएन,’ उनले भने । पूर्वखोला–२ जल्पा लाभेका टंकनाथ खनाल दुबई जानुपर्ने एक महिनाअघि नै हो । अहिलेसम्म उड्न पाएका छैनन् । कम्पनीले खोप लगाएपछि मात्र आउन भनेकाले उनलाई विदेश जान समस्या भएको हो । ‘खोपका लागि धेरैपटक प्रयास गरियो तर पाइएको छैन,’ उनले भने । बगनासकाली–१ चिर्तुङधाराका टेकबहादुर चिदी पनि खोप लगाउन नपाएकै कारण विदेश जान पाएका छैनन् । कागजी प्रक्रिया पूरा गरे पनि खोप नपाएर वैदेशिक रोजगारीमा जान नपाउनेको संख्या पाल्पामा मात्र ५ सयभन्दा बढी रहेको उनको अनुमान छ । ‘विदेश जान समस्या भयो भन्दै आउनेको संख्या बढेको छ,’ बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले भने, ‘दैनिकजसो खोपको माग गर्दै आउने गर्छन् ।’
अर्घाखाँचीको मालारानी–९ का विष्णु घिमिरेले कतार जाने तयारी पूरा गरेका थिए । तर, खोप लगाएको रिपोर्ट नहुँदा निराश छन् । ‘घरमा ऋण छ, छोराछोरी पढाउन र घरखर्च चलाउन मुस्किल भएर कतार जान लागेको हुँ,’ उनले भने, ‘सबै काम पूरा गरेर काठमाडौं हिँड्न लाग्दा, खोप नलगाएकालाई कतार प्रवेश अनुमति नदिने खबर सुनें । स्वास्थ्य चौकी, जिल्ला जनस्वास्थ्य र अस्पतालमा गएँ, खोप आएको छैन भन्ने जवाफ पाएपछि मन खिन्न भयो ।’ खोप कहिले आउँछ भनेर स्वास्थ्यकर्मीलाई सोध्दा टुंगो नभएको जवाफ पाएको उनले बताए । शीतगंगा–१० का विकास पुनले खोप लगाउन पाएनन् । ‘धेरै पटक स्वास्थ्य चौकी, नगरपालिकामा खोप चाहियो भनेर धाएँ, आएपछि लगाइदिन्छौं भन्ने आश्वासन दिए तर खोप आएन,’ उनले भने । कोरोना संक्रमणबाट सुरक्षित हुन खोप मागेको उनले बताए । त्यही खोप लगाउन नपाएकै कारण उनी कतार जान पाएनन् । कम्पनीमा सम्पर्क गर्दा म्यानेजरले खोप लगाएको रिपोर्टबिना आउन पाइँदैन भनेपछि झसंग भएको उनले बताए ।
यूएईले गत वैशाख २३ देखि नेपालबाट कामदारसहितका यात्रुलाई प्रवेश निषेध गरेको छ । कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार आउन दिएको छैन । साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नॅपर्छ । आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ । यूएई र कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको छ । कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनलाई अनुमोदन दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म र अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी सबै खोप नेपालमा अभाव छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले वैदेशिक रोजगारमा जाने कामदारका हकमा सरकारले खोप लगाउने नीति नबनाएको प्रतिक्रिया दिए ।

मनोज पौडेल (कपिलवस्तु), सन्जु पौडेल (रूपन्देही), माधव अर्याल (पाल्पा) र वीरेन्द्र केसी (अर्घाखाँची)

मुख्य पृष्ठ

घर जाँदै छन् एतबरिया र लीलावती

- जनकराज सापकोटा

(काठमाडौं) - मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको दुई दिनअघि गत वैशाख २६ मा भारतको हरियाणा प्रहरीले
ट्वीट गर्‍यो ‘आफ्नी आमालाई
१२ वर्षपछि देख्न पाउनुभन्दा ठूलो खुसी के हुन सक्छ ?’ प्रहरीले हरियाणाका मुख्यमन्त्रीलाई समेत
ट्याग गर्दै उक्त ट्वीटमा झारखण्डकी एक युवतीले आफ्नी ७० वर्षीया आमालाई भिडियो कन्फ्रेन्समार्फत भेट्न पाएको कुरा उल्लेख गरेको छ ।
करिब डेढ महिनापछि १० असारमा भारतका समाजसेवी सच्चितानन्द सोरेनले नेपालमा हराएकी एतबरिया उरावलाई झारखण्डको लोहरदगास्थित घर ल्याउने प्रक्रिया भइरहेको भन्दै
ट्वीट गरे । उनको ट्वीटलाई मेन्सन गर्दै झारखण्डका यातायातमन्त्री चम्पाई सोरेनले यी महिलालाई सहायता गर्न डेपुटी कमिस्नर र श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राँचीस्थित स्टेट माइग्रेन्ट कन्ट्रोल रुमलाई सार्वजनिक अपिल गरे ।
भारतका उच्च पदस्थ सरकारी अधिकारी र मन्त्रीहरूले शृंखलाबद्ध रूपमा गरेका यी ट्वीटमा उल्लिखित भारतीय महिलाको कथा नेपालसँग सम्बन्धित छ । एक दशकभन्दा अघिदेखि घरबाट हराएकी ३२ वर्षीया युवती नेपालमा फेला परेपछि उनलाई पारिवारिक पुनर्मिलन गराउने प्रक्रियामा नेपालका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावाससँगै चार सामाजिक संघसंस्थाहरूको सक्रिय भूमिका देखिन्छ ।
करिब साढे तीन वर्षअघि सल्यानस्थित महिला तथा बालबालिका कार्यालयले सदरमुकाम छेउछाउमा हिँडिराख्ने एक महिलालाई फेला पारेको थियो । मानसिक सन्तुलन गुमेको जस्तो देखिने ती महिला बाटोमा हिँड्ने यात्रुलाई ढुंगा हान्न खोज्ने, दोहोरो संवाद नगर्ने र एक्लै बसिराख्ने अवस्थामा भेटिन्थिन् । महिला तथा बालबालिका कार्यालयले २०७४ माघ १२ मा उनको उद्धार गरेर एम्बुलेन्समा ललितपुरको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने कोसिस नेपाल भन्ने संस्थाको पुनःस्थापना केन्द्रमा पठाइदियो ।

संस्थामार्फत उद्धार, उपचार र पुनःस्थापनामा सक्रिय कर्मचारी मन्जु क्षेत्रीका अनुसार यहाँ ल्याउँदासम्म पनि एतबरियालाई सम्हाल्नै गाह्रो थियो । निरन्तरको उपचार, परामर्शसँगै उनको घर ठेगाना पत्ता लगाउने पनि प्रयास थालियो । ‘दोहोरो कुराकानी नगर्ने र नेपाली पनि राम्ररी नबुझ्ने भएकाले हामीले उनको ठेगाना पत्ता लगाउनै सकेनौं,’ मन्जुले भनिन् ।
करिब ६ महिना राखेपछि कोसिसले उनलाई दीर्घकालीन पुनःस्थापनामा काम गर्ने संस्था मंगला साहना दीर्घकालीन पुनःस्थापना केन्द्रमा पठाइदियो ।
उक्त केन्द्रमा त्यसअघि नै लीलावती सरिता नामकी भारतीय महिला आश्रयमा थिइन् । उनको पनि अवस्था एतबरियाको भन्दा फरक थिएन । फरक थियो त केवल उमेरको । ६० वर्ष उमेर पुगेकी लीलावतीको पनि मानसिक स्वास्थ्य ठीक थिएन । पाठेघरको पनि समस्या थियो । एतबरियाको जस्तै उनको पनि घर, ठेगाना केही पत्तो थिएन ।
केन्द्रले एतबरिया र लीलावती दुवैको निरन्तरको उपचार र परामर्श जारी राखेको थियो । केन्द्रकी प्रमुख नविना श्रेष्ठका अनुसार पछिल्ला महिनाहरूमा दुवैको स्वास्थ्यमा उल्लेख्य सुधार मात्रै आएको थिएन, दोहोरो कुराकानी गर्ने र घर ठेगानाबारे अपुरो भए पनि कुरा बताउन थाल्ने भएका थिए । प्रमुख श्रेष्ठका अनुसार एतबरिया १२ वर्षको उमेरदेखि घरबाट हराएको खुल्यो । प्राप्त सूचनाहरूलाई केलाउँदा १२ वर्षकै उमेरमा मजदुरी गर्ने बाबुको पछि लागेर अयोध्या आएपछि एतबरिया हराएको देखिन्छ । नेपाल कसरी आइपुग्यौं भन्ने प्रश्नमा एतबरियाले ‘चल्ते चल्ते नेपाल आयो’ भन्न थालेपछि घरको खोजीमा चासो बढेको थियो । श्रेष्ठले भनिन्, ‘सानै उमेरमा देश बाहिर आइपुगेर सडक बालिका जस्तो भएको र त्यसक्रममा यौन दुर्व्यवहारहरूमा पर्दा पर्दै मानसिक सन्तुलन गुमाएको हुन सक्ने देखिन्छ ।’ यद्यपि लीलावती भने कसरी नेपाल आइपुगिन् र कसरी उनको
मानसिक सन्तुलन गुम्यो भन्नेबारे विस्तृतमा खुलिसकेको देखिन्न ।
उनलाई एक गैरसरकारी संस्थाले सिन्धुलीको सार्वजनिक स्थानमा फेला पारेर केन्द्रमा ल्याइएको थियो । केन्द्रले यी दुवैबाट प्राप्त सूचनाहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठायो । त्यहाँबाट उक्त सूचना परराष्ट्र मन्त्रालयमा पठाइयो । परराष्ट्रले भने यी महिलाको ठेगाना पत्ता लगाउन दिल्लीस्थित नेपाली दूतावासमा पत्राचार गर्‍यो ।
भारतमा बेचबिखनमा परेका नेपालीहरूको उद्धारमा कम गर्दै आएको संस्था आफन्त नेपाललाई दिल्ली दूतावासले ती दुई भारतीयको ठेगाना पत्ता लगाइदिन २२ वैशाखमा अनुरोध गर्‍यो । पछिल्ला ५ वर्षयता आफन्तमार्फत दिल्लीमा बसेर नेपालीहरूको उद्धार र पुनःस्थापनामा सक्रिय नवीन जोशीले सम्भावित सूचनाका आधारमा विभिन्न प्रहरी कार्यालयहरूमा सम्पर्क बढाए । सामाजिक सेवामा सक्रिय संस्थाहरूसँग पनि सहायता मागे । कान्तिपुरसँगको कुराकानीमा नवीनले करिब चार महिनाको अनवरत प्रयासपछि एतबरिया र लीलावती दुवैको घर ठेगानाको पहिचान भएको बताए । उनले भने, ‘दुवै जना करिब १५/१६ वर्षयता परिवारको सम्पर्क बाहिर रहेको खुल्यो ।’
पुनःस्थापना केन्द्रमा रहेका दुई भारतीयको ठेगाना खुलेपछि उनीहरूलाई पारिवारिक पुनर्मिलन गराउन असार ७ मा दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा पत्राचार गरेको थियो । उक्त पत्रमा एतबरियाको उमेर ३२ वर्ष र घर झारखन्डको लोहारडागामा रहेको उल्लेख छ भने लीलावतीको उमेर ६० वर्ष, घर उत्तरप्रदेशको बरेली जिल्लामा रहेको उल्लेख छ ।
आफन्त नेपालका जोशीका अनुसार परिवारको पत्तो लागेपछि दुवै जनाका परिवारले भिडियोमार्फत कुराकानी गरेका थिए । पुनःस्थापना केन्द्रकी प्रमुख श्रेष्ठले घरका सदस्यसँग कुरा गरेपछि ऐतबरियाको अनुहारमा खुसी फर्किएको बताइन् । करिब दुई वर्ष अघि एतबरियाको बाबुको भने मृत्यु भइसकेको रहेछ । उनले भनिन्, ‘बाबु भेट्न नपाए पनि आमा, दिदी र छिमेकी सबैसँग भिडियोमा कुरा गरेपछि ऐतबरियाको अनुहार नै अर्कै देखिएको छ । कहिले घर पुगिएला भन्ने हतारो देखिन्छ ।’
लामो समय मंगला सहाना केन्द्रमा रहेकी लीलावतीको भने स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि गत फागुनमा सामाखुसीको मानव सेवा आश्रममा सारिएको थियो । आश्रमकी कर्मचारी अञ्जली महथाका अनुसार परिवारको पत्तो लागेपछि केही दिनअघि लीलावतीले परिवारसँग कुरा गरेकी थिइन् । उनले श्रीमान् रामभजन र छिमेकीहरूसँग पनि कुरा गरिन् । अञ्जलीले भनिन्, ‘वर्षौंपछि परिवारसँग कुराकानी गर्न पाएर होला कि त्यो दिनयता लीलावतीको अनुहार धपक्कै बलेको छ । एकदमै खुसी देखिनुभएको छ ।’ सम्भवतः आगामी साता एतबरिया र लीलावतीलाई घर पुर्‍याउने गरी भारतीय अधिकारीहरूसँग सम्पर्क र समन्वय भइरहेको केन्द्रले जनाएको छ ।

Page 2
समाचार

कांग्रेसमा मिल्यो सदस्यता विवाद

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कांग्रेसमा पार्टीको क्रियाशील सदस्यता छानबिनको मापदण्डमा समझदारी जुटेको छ । पार्टी पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित शुक्रबारको बैठकले सदस्यता छानबिनको मापदण्डमा समझदारी बनाएसँगै तोकिएकै समयमा महाधिवेशन हुने सुनिश्चितता बढेको छ ।
विधानको प्रक्रियाविपरीत आएका सदस्यताको सूचीलाई १५ औं महाधिवेशनमा मात्रै भाग लिन पाउने गरी हाललाई स्थगन गर्न संस्थापन र इतरपक्ष दुवै तयार भएका छन् । करिब ५ सय वडामा प्रक्रियाविपरीत सदस्यता आएको भन्दै संस्थापन इतरपक्षले विरोध जनाउँदै आएको थियो । पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६–१९ सम्म गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि सदस्यता विवादले अन्योल खडा गरेको थियो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत आएका सदस्यको सूचीलाई स्थगन गरेर १५ औं महाधिवेशनबाट मान्यता दिने गरी छानबिन अघि बढाउन सभापति शेरबहादुर देउवा तयार भएपछि विवाद टुंगिएको बताए । कांग्रेसको विधानमा क्रियाशील सदस्यताका लागि वडा कार्यसमितिले प्रस्ताव गर्नुपर्छ । त्यसपछि प्रदेश र प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्ला कार्यसमितिले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ ।
कांग्रेसभित्र सदस्यताको मुख्य विवाद विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरूले आफ्ना कार्यकर्ता समायोजनको नाममा पठाएका सूचीमाथि थियो । केसीका अनुसार प्रक्रियाविपरीत आएका सूची ५ सय वडामा छन् ।
‘अन्य पार्टीबाट आएका कार्यकर्ताको समायोजनभन्दा पनि आफ्नो प्रभाव बनाउन विभिन्न ढंगबाट राजनीतीकरण गर्ने प्रयास भएको थियो । त्यसमा नियन्त्रण हुनुपर्छ भन्ने हाम्रो माग हो,’ केसीले भने, ‘सकेसम्म प्रक्रियागत रूपमै सहमति खोज्ने, नभए विवादित वडामा पुरानै सदस्यबाट सदस्यलाई अधिवेशन गराउने कुरा भएको छ । यस आधारमा सभापतिजीले काम गर्नु भनेर छानबिन समितिलाई भन्नु भएपछि विवाद मिलेको छ ।’
सहमहामन्त्री प्रकाशरण महतका अनुसार करिब ३ सय वडामा समस्या देखिएको बताउँदै कसैलाई पनि अन्याय नहुने गरी छानबिन अघि बढाउन समितिलाई मापदण्ड दिइएको बताए । उनले सदस्यतासम्बन्धी विवादको टुंगो लागेसँगै महाधिवेशनको सुनिश्चितता बढेको बताए । ‘कोभिड र बाढीपहिरो अचाक्ली भए मात्रै हो, नत्र सदस्यताका कारणले महाधिवेशन रोकिने अवस्था अब छैन, मतदाता टुंगिएपछि अधिवेशन भयो भने हुन्छ,’ उनले भने, ‘३० जिल्लाको सदस्यताको टुंगो लागेर प्रिन्ट पनि भइसकेको छ । अरू जिल्लाको पनि प्रिन्ट भइरहेको छ । अब दुई–चार दिन ढिला भए पनि केही फरक पर्दैन ।’

समाचार

भारत छिर्न पीसीआर रिपोर्ट

- भवानी भट्ट

(कञ्चनपुर) - बैतडी मेलौलीका जयराज भट्ट बिहीबार बिहानै गड्डाचौकी नाकामा पुगे । केहीबेरको सोधपुछ तथा नाम दर्तापछि उनी भारततर्फ लागे । करिब एक किलोमिटर परको भारतीय हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले उनीसँग सामान्य सोधपुछपछि कोरोना परीक्षणको रिपोर्ट मागे । यसबारे उनलाई केही थाहा थिएन । रिपोर्ट थिएन । उनलाई नेपालतर्फ फिर्ता पठाइयो । ‘पीसीआर रिपोर्ट दिखाओ, लेके आओ भनेको छ,’ गड्डाचौकीमा भेटिएका भट्टले भने, ‘अब यो बीचबाटोमा रिपोर्ट कहाँबाट ल्याउनु ?’
भारत उत्तराखण्डको चम्पावत जिल्लाको लोहाघाट क्षेत्रमा डकर्मी काम गर्ने उनी एक साताअघि मात्रै घर आएका थिए । घर आउँदा भारततिर जानेहरूबाट परीक्षण रिपोर्ट माग्न सुरु भएको थिएन । कञ्चनपुरको भीमदत्त–१७ बाँसखेडाका ७६ वर्षीय पदम चन्द पनि बिहीबार ६ महिनापछि पेन्सन बुझ्न सीमावर्ती बजार बनबासा जान लागेका थिए । उनलाई पनि परीक्षण रिपोर्ट ल्याउनु भन्दै फर्काइदिए । ‘पेन्सन बुझेर आधा घण्टामै फर्किने भन्दा पनि जान दिएनन्,’ चन्दले भने, ‘रोपाइँ गर्नेहरू, जोताइको काम गर्ने सबैलाई ज्याला दिन बाँकी छ । पेन्सन ल्याएर दिन्छु भनेको छु, अब कहाँबाट उनीहरूलाई दिने ?’
चन्द महिनापिच्छे पेन्सन बुझ्न बनबासा पुग्थे । कोरोना संक्रमणका कारण गत वर्षदेखि भारततर्फ आउजाउमा कडाइ हुँदा उनी ४/५ महिनामा मात्रै जान्छन् । ‘यस पटक त फागुनदेखि नै जान पाइएको छैन,’ उनले भने, ‘घर खर्च चलाउनसमेत मुस्किल भएको छ ।’ गत वर्ष कोरोना संक्रमणका कारण लामो समय नाका बन्द भयो । नाका बन्द भएकै अवस्थामा समेत उपचार, रोजगारी, अध्ययन र पेन्सन बुझ्न जानेहरूलाई भने आउजाउ गर्न दिइएको थियो । यसरी भारततर्फ जानेको सामान्य स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण पनि गरिन्थ्यो । सरकारले गड्डाचौकीलगायतका नेपाल र भारतका प्रमुख सीमानाकामा आवागमन खुला गरेपछि सामान्य स्वास्थ्य जाँच पनि बन्द गरिएको थियो ।
कोरोना संक्रमणको दोस्रो लहर बढिरहेका बेला दुवैतर्फ निषेधाज्ञा सुरु भएपछि भारततर्फ जानेको संख्या नगण्य थियो । केही दिनयता संक्रमणको दर घटेपछि भारत जानेको संख्या बढेको छ । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका अनुसार मंगलबारदेखि नेपालीहरूबाट ७२ घण्टाभित्रको परीक्षण रिपोर्ट माग्न थालिएको हो ।
नाकामा मंगलबारदेखि एकाएक परीक्षण रिपोर्ट माग्न थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामको खोजीमा जानेहरू बढी समस्यामा छन् । जेनतेन नाकामा पुगेकाहरू पुनः परीक्षण गराउन फर्किनुपर्दा अलपत्र परेका छन् । परीक्षण गराउन कहाँ जाने र फेरि कसरी फर्किने भन्नेमै अन्योल छ । सशस्त्र प्रहरीका एसपी वीरेन्द्र ऐरले भने, ‘एकाएक भारततर्फ जानेको संख्या बढेका कारण रोक्नका लागि यस्तो गरेको पनि हुन सक्छ ।’ भारतीय नागरिकलाई नेपाल प्रवेश गर्दा गत वर्षदेखि नै कोरोना परीक्षण रिपोर्ट र सीसीएमसी फाराम भर्नुपर्ने अनिवार्य गरिएको छ । यही किसिमको रिपोर्ट माग गर्दै भारतले पनि परीक्षण रिपोर्ट अनिवार्य गरेको हुन सक्ने सुरक्षाकर्मीहरू बताउँछन् । नाकाबाट फर्काइएकाहरू केहीले महेन्द्रनगरमा पीसीआर गराउँदै आएका छन् । केही कैलालीको गौरीफन्टा नाका हुँदै गइरहेका छन् । पहाडी जिल्लाबाट जेनतेन पुगेकाहरू भने नाकामै अलपत्र परेका छन् ।
कैलालीको गौरीफन्टा नाकामा भने पारि रिपोर्ट माग नगरिएको सशस्त्रका एसपी ऐरले बताए । गौरीफन्टा नाका उत्तरप्रदेश र गड्डाचौकीपारिको बनबासा उत्तराखण्डमा पर्छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीका अनुसार सुरक्षा निकायको समन्वयमा केही सहज पार्ने प्रयास भइरहेको छ । बिहीबार गड्डाचौकीबाट १ सय १७ पुरुष, २९ महिला र ५ बालबालिका गरी १ सय ५१ जना नामदर्ता गराएर भारततिर गए पनि उनीहरूमध्ये परीक्षण रिपोर्ट नभएर कति जना फर्किए भन्ने प्रशासनसँग तथ्यांक छैन ।
यसैगरी गौरीफन्टा नाकाबाट बिहीबार १ हजार ४ सय १ पुरुष, ३ सय ९० महिला र २ सय ७ बालबालिका गरी १ हजार ९ सय ९८ जना भारततर्फ गएका छन् । उक्त नाकाबाट १ सय ७० पुरुष ८५ महिला र ४५ बालबालिका गरी ३ सय जना भित्रिएका छन् । उनीमध्ये १ सय २ जनाको एन्टिजेन परीक्षणमा कसैमा पनि संक्रमण देखिएन ।

समाचार

२२९९ संक्रमित थपिए, ३४ को मृत्यु

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– पछिल्लो २४ घण्टामा १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३४ जनाको मृत्यु र ३ हजार ४ सय ५१ जना निको भएका छन् । हाल सक्रिय संक्रमित २९ हजार २ सय ७४ अर्थात् ४.५६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Page 3
समाचार

बिरामीबाट लाखौं असुलेर सरकारसँग उपचार खर्च माग

- मकर श्रेष्ठ

(काठमाडौं) - विराटनगर–९ सिद्धार्थ चोकका ४२ वर्षीय अशोककुमार साहलाई गत वैशाख ८ मा कोरोना संक्रमण देखियो । उनी दुई दिन होम आइसोलेसनमा बसे । अक्सिजन लेबल कम भएपछि उनी नजिकैको कोसी अस्पतालमा भर्ना भएर तीन दिन उपचार गराए । सरकारीभन्दा निजी अस्पतालमा राम्रो उपचार हुने आसमा उनलाई विराट मेडिकल कलेजमा भर्ना गरियो । भर्ना भएको १७ औं दिनमा उनको मृत्यु भयो । उनका छोरा राकेश उपचार र औषधिमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको र सबै आफैंले बेहोरेको बताउँछन् । अस्पताल प्रशासनले भने अशोकको उपचार निःशुल्क गरेको भन्दै भुक्तानीका लागि स्वास्थ्य मन्त्रालयमा माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा उपचार खर्च दाबी गरेकाहरूको खोजी गर्ने क्रममा कान्तिपुरले साहको परिवारले अस्पतालमा १७ दिनमा ७ लाख ५ हजार ४ सय १० रुपैयाँ तिरेको पाइएको छ । अस्पतालले आईसीयू बेड शुल्क मात्रै ४ लाख १० हजार रुपैयाँ लिएको छ । आईसीयू बेडको शुल्क दिनको ३५ हजारका दरले लिइएको छ । ‘कन्सल्टेसन चार्ज’ भन्दै २ हजार ५ सयका दरले १७ दिनको ४२ हजार ५ सय रुपैयाँ अस्पतालले लिएको छ । भेन्टिलेटरसहित आईसीयूको १५ हजारका दरले १ लाख ९५ हजार रुपैयाँ लिएको छ । ‘ल्याब र फार्मेसीको बिल त कति हो कति ?’ राजेशले भने ।
विराट मेडिकल कलेजले वैशाखमा निःशुल्क उपचार गरेको भनिएकामध्ये २९ जनालाई सम्पर्क गर्दा २१ जनाबाट पैसा लिएको पाइएको छ । विराटका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीले संस्था बचाउन तिर्न सक्नेबाट लिएर तिर्न नसक्नेको निःशुल्क उपचार गरेको दाबी गरे । सरकारले उपलब्ध गराएको रकम पर्याप्त नभएकाले बिरामीसँग लिएर संस्था सञ्चालन गरेको उनको भनाइ छ । ‘काठमाडौंको कोठामा बसेर उपचारबापत यति दिँदा हुन्छ भनेर हिसाब गरेजस्तो हुँदैन । कति खर्च लाग्छ, उपचार गर्दै जाँदा थाहा हुन्छ,’ उनले भने, ‘सरकारले उपलब्ध गराउने भनिएको रकमले पुग्दैन । आईसीयूमा राखेर १५ हजारमा उपचार गर्नू भन्नु पागलपन हो । यो रकममा उपचार गर्न सकिँदैन भन्न पनि पाउनुपर्‍यो ।’
सरकारले सामान्य लक्षण भएका संक्रमितको उपचार गर्दा दिनको ३ हजार ५ सय, मध्यम जटिल भएकाको उपचार गरे ७ हजार र जटिल एवं क्रिटिकलको उपचार गरेको भए १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । यो सुविधाका लागि सामान्य रगत परीक्षण (सिरम युरिया, क्रियटिनिन, सुगर, सीआरपी, सीबीसी, हेमोग्लोबिन, प्लेटलेट, ईएसआर, एएसटी, एएलटी), छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाइँदैन । खाजा, खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क छ । ‘कसैले सःशुल्क सेवा लिने भनी अस्पताल भर्ना गरेको छ भने पनि लिखित रूपमा मञ्जुरी गराउनुपर्ने हुन्छ । अन्यथा त्यस्ता संक्रमितलाई निःशुल्क उपचार गर्नुपर्ने हुन्छ,’ मन्त्रालयले जेठ २७ मा जारी गरेको सूचनामा भनिएको छ, ‘सेवाग्राहीको विवरण फरक परेमा, शुल्क लिएमा सोधभर्ना उपलब्ध नगराइने, अस्पतालको दर्ता खारेज गर्ने सचिवस्तरीय निर्णय भएको जानकारी गराइन्छ ।’
विराटका सञ्चालक कार्कीले भने एक जना मेडिकल अफिसरको तलब २ लाख २० हजार, नर्सलाई १ लाखभन्दा बढी तलब दिनुपर्ने भएकाले सरकारले दिने रकम अपुग हुने बताए । ‘तिर्न सक्ने बिरामीबाट नलिए कसरी संस्था चल्छ ?’ उनले भने, ‘१० करोड त कोरोनाको बेला फ्रि गरें होला । संस्थालाई चलाउन रकम लिनु बाध्यता हो । मलाई कोरोनाका बेला कमाउनु छैन । संस्था बाँचेन भने अरू हजारौंले मर्नुपर्छ । तिर्न सक्नेलाई तिराएको हो ।’
चितवन मेडिकल कलेज (सीएमसी) ले पनि कोरोना संक्रमितबाट पैसा लिएर ‘उपचार निःशुल्क गरेको’ भन्दै स्वास्थ्य मन्त्रालयमा उपचारबापतको रकम माग गरेको छ । सीएमसीले निःशुल्क उपचारको दाबी गरेकामध्ये कपिलवस्तुकी बिन्दु शर्मा एक हुन् । सीएमसीमा उनलाई ६ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । उपचारमा ७ लाख खर्च भएको उनको भनाइ छ । अस्पतालमा मात्रै १ लाख ३८ हजार ७ सय ५० रुपैयाँ बुझाएको बिल उनीसँग छ । अस्पतालले आईसीयू बेड शुल्क दिनको १५ हजारका दरले लिएको छ । ‘हामीलाई एक रुपैयाँ पनि छुट दिइएन,’ शर्माले भनिन्, ‘अस्पतालमा बेड चार्जभन्दा बढी औषधि र ल्याबमा तिर्‍यौं ।’ अस्पतालले भने उनलाई ७ दिन भेन्टिलेटरमा राखेर उपचार गरेको भन्दै मन्त्रालयसँग उपचार खर्च मागेको हो । ‘अस्पतालले निःशुल्क उपचार गरेको भनेर सरकारसँग पैसा मागेको भए हामीले तिरेको पैसा फिर्ता गरोस्,’ उनले भनिन् ।
सीएमसीले चितवन भरतपुर–२ की तारा गुरुङको पनि निःशुल्क उपचार भएको दाबी गरेको छ । गुरुङले भने अस्पतालमा ४ लाख रुपैयाँभन्दा बढी तिरेको बताइन् । नवलपरासी प्रतापपुरकी ८० वर्षीया फूलमाया गुरुङको पनि निःशुल्क उपचार भन्दै अस्पतालले सरकारसँग रकम माग गरेको छ । बिरामीका आफन्तले भने अस्पतालमा दुई दिनको ५८ हजार ४ सय ८५ रुपैयाँ तिरेका छन् ।
सीएमसीका सञ्चालक डा. हरिशचन्द्र न्यौपानेले पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आउनुअघि र नेगेटिभ आइसकेपछि अस्पताल बस्दा मात्रै शुल्क लिएको दाबी गरे । ‘अस्पतालमा भर्ना हुन आउँदा पोजिटिभ भएको हुँदैन । पीसीआर रिपोर्ट नआएसम्म विभिन्न परीक्षण गर्नैपर्ने हुन्छ । परीक्षण गर्दा र बेड चार्ज लाग्छ,’ उनले भने, ‘पोजिटिभ आएपछि शुल्क लिएका छैनौं ।’ सीएमसीले वैशाखमा
२ सय १२ जनालाई निःशुल्क उपचार गरेको दाबी गर्दै मन्त्रालयमा सोधभर्ना माग गरेको छ । तर अधिकांशसँग पैसा लिएको पाइएको छ ।
सीएमसीले दुर्घटनामा परेर उपचार गर्न आएकाको पनि कोराना संक्रमितको उपचार गरेको भन्दै विवरण पेस गरेको पाइएको छ । बाबुराम उपाध्याय दुर्घटनामा परेर सीएमसी भर्ना भएका थिए । अस्पतालले उनलाई दैनिक बेड चार्ज १२ हजार रुपैयाँ लिएको थियो । सीएमसीले उनलाई पनि कोरोना संक्रमितको सूचीमा राखेर सरकारसँग उपचार खर्च दाबी गरेको छ । जनरल बेडमा उपचार गरिएकालाई पनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरेको सूचीमा राखिएको छ । हरि बर्तौलाले सीएमसीको एचडीयूमा ८ दिन उपचार गराए । दिनको सात हजार रुपैयाँका दरले पैसा पनि तिरे । तर अस्पतालले १० दिन एचडीयूमा उनको उपचार गरेको भन्दै गलत विवरण मन्त्रालयमा पेस गरेको छ । औषधि, उपचारका क्रममा साढे दुई लाख रुपैयाँ सकाएको उनले बताए । अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दीपेन्द्र बाँस्तोलाको पनि भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको विवरण सीएमसीले पेस गरेको छ । अजित थापा ६ दिन एचडीयूमा भर्ना भएकी थिइन् । उनी १० दिन बसेको भन्दै सरकारसँग भुक्तानी माग गरिएको छ । उनको उपचारमा २ लाख १० हजार रुपैयाँ खर्च भएको परिवारले जनाएको छ । त्यस्तै पवित्रा खत्री एचडीयूमा ३ दिन भर्ना भएकी थिइन् तर सात दिनको सोधभर्ना माग गरिएको छ । मीरा शर्मा कोइराला कोरोना देखिएपछि होम आइसोलेसनमा बसिन् । तर उनको नाम पनि भर्ना भएका बिरामीको सूचीमा छ । बन्दना महतो चार दिन एचडीयूमा भर्ना भएकी थिइन् । उनको आईसीयूमा भर्ना गरेर सात दिन उपचार गरेको भन्दै सरकारसँग पैसा मागिएको छ । २ दिन जनरल बेडमा बसेका सरोजलाई ८ दिन आईसीयूमा भर्ना भएको भनेर सीएमसीले विवरण पेस गरेको छ । कर्णमान शाक्यले जनरल वार्डमा तीन दिन बसेर ४० हजार रुपैयाँ तिरेका थिए । अस्पतालले उनलाई पनि आईसीयूमै भर्ना गरेको भनेको छ । तिलप्रसाद लम्साल जनरल वार्डमा चार दिन बसेका थिए । तर अस्पतालले उनलाई ५ दिन अस्पतालको आईसीयूमा राखेको विवरण पेस गरेको छ ।
काठमाडौं मेडिकल कलेजले पनि निःशुल्क उपचार गरेको दाबी गरिएका संक्रमितसँग पैसा लिएको पाइएको छ । भक्तपुर थिमिका थानेश्वर दाहाल र उनकी श्रीमती निर्मला घिमिरे कोरोना संक्रमण भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । गत वैशाख ८ मा कोरोना पोजिटिभ देखिएका दाहाललाई १२ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको ५ औं दिनमा उनको मृत्यु भयो । उनलाई भेन्टिलेटरमा तीन दिन मात्र राखिएको थियो । काठमाडौं मेडिकल कलेजले भने ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरेको भन्दै उपचार खर्च मन्त्रालयसँग मागेको छ । ‘जे जति खर्च भएको छ, सबै हामीले तिरेका छौं । अस्पतालले सरकारसँग पैसा लिने हो भने हामीले तिरेको फिर्ता गर्नुपर्छ,’ मृतककी श्रीमती घिमिरेले भनिन्, ‘हाम्रो नाम बेच्नेलाई कारबाही होस् ।’ उनले बेड र उपचारको शुल्क मात्रै अस्पताललाई ९१ हजार एक सय रुपैयाँ तिरेको जानकारी दिइन् । उनका अनुसार औषधि उपचारमा सबै गरेर साढे चार लाख रुपैयाँ खर्च भएको थियो ।
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले कमाउने नियतले नभई प्राविधिक कारणले तथ्यांक गलत परेको हुन सक्ने बताए । ‘महिनाको १० करोड घाटा सहेर संक्रमितलाई बचायौं । रातदिन नभनी काम गर्‍यौं । कुनियत राखेको भए त्यो बेला जति पनि लिन सक्थ्यौं,’ उनले भने, ‘मन्त्रालयमा बुझाएको विवरणमा केही समस्या हुन सक्छ । त्यसैलाई देखाई अस्पतालको बदनाम गरेर हामीले मागेको सोधभर्ना नदिने नियत पनि राखेको हुन सक्छ ।’ परिवारका सदस्य र ७५ प्रतिशतभन्दा बढी कर्मचारीलाई कोराना लागेका बेला जनताको सेवा गर्दा धन्यवाद दिनुपर्नेमा उल्टै मन्त्रालयले बदनाम गरेको उनको आरोप छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालले संक्रमितको उपचार गरेबापत सोधभर्नाका लागि विवरण पठाएअनुसार रुजु गर्ने क्रम जारी रहेको बताए । अस्पतालले निःशुल्क उपचार गरेको भनिएको व्यक्तिलाई सम्पर्क गरेर छानबिन भइरहेको उनले बताए । ‘जसको निःशुल्क उपचार गरिएको हो, उसको मात्रै सोधभर्ना हुन्छ । पैसा लिएर पनि लिएकै छैन भनेर मागदाबी गरिएको रहेछ भने दिँदैनौं,’ उनले भने, ‘केही अस्पतालले शुल्क लिएका बिरामीको पनि नाम समावेश गरेको पाइएको छ ।’ केहीले आफ्ना कर्मचारीको विवरणसमेत समावेश गरेका छन् ।
विराट मेडिकल कलेजका सञ्चालक कार्कीले कोरोना लागेका व्यक्तिको अरू रोगको उपचार गरेबापत पनि बिरामीसँग शुल्क लिएको बताए । ‘कोरोना संक्रमितको लिभर, मुटु, फोक्सोसम्बन्धी वा अरू रोग पनि हुन्छ । सरकारले त कोभिडको मात्रै निःशुल्क उपचार गर्नु भनेको हो । नाम एउटा, रोगको उपचार अरूको पनि
गर्नुपर्ने हुँदोरहेछ,’ उनले भने, ‘कतिपय बिरामीको यस्ता उपचारको पनि शुल्क लिएका हौं ।’ विराटनगरकी रिमा नेपालले अलगै रोगको मात्रै नभएर कोरोनाको पनि शुल्क तिरेको दाबी गरिन् ।

 

समाचार

खनाल–नेपाल पक्षलाई हस्ताक्षर फिर्ताको निर्देशन

- कान्तिपुर संवाददाता

(काठमाडौं) - एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका २३ जना निवर्तमान सांसदलाई आउँदो सोमबारभित्र आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । झलनाथ खनाल–माधव नेपाल समूहको अनुपस्थितिमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले आउँदो सोमबार बेलुका ५ बजेसम्मको समय किटान गरेर हस्ताक्षर फिर्ता लिन औपचारिक निर्देशन दिएको हो । यो निर्णयले एकता प्रयासलाई थप जटिलतातर्फ धकेलेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने घोषणा गरेका छन् । हस्ताक्षर आफ्नै पार्टी र सरकारविरुद्ध घात रहेको उनको भनाइ छ ।
खनाल–नेपाल समूहले आन्तरिक एकताका लागि केन्द्रीय कमिटी बैठक स्थगन गर्नुपर्ने माग गरे पनि त्यसलाई बेवास्ता गर्दै शुक्रबार बालुवाटारमा बैठक बसेको थियो । बैठकमा ओलीले खनाल–नेपालसहितका नेताहरूले गरेको हस्ताक्षर फिर्ता नहुँदासम्म एक भएर जान नसकिने स्पष्ट धारणा सुनाएका थिए । बैठकमा उनको सबैभन्दा ठूलो आपत्ति हस्ताक्षरकै विषयमा थियो । ‘आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसद हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधानविपरीतको विषय हो,’ बैठकद्वारा पारित प्रस्तावमा छ, ‘यस्तो गतिविधि राष्ट्र र जनताको हितको समेत विपरीत छ ।’ खनाल–नेपाललगायतका नेताहरूको हस्ताक्षरलाई अनधिकृत भनिएको छ ।
एमालेमा पार्टी एकताका लागि भन्दै दोस्रो तहका नेताहरूले दौडधुप गरिरहे पनि अध्यक्ष ओली र नेता नेपाल एकतातर्फ भन्दा आ–आफ्नो मार्गचित्रअनुसार अघि बढेका छन् । उनीहरूका गतिविधि, अभिव्यक्ति र निर्णय अब मिल्नेभन्दा छुट्टिनेतर्फ अग्रसर छन् । जसको पुष्टि शुक्रबारको बैठकले पनि गरेको छ । एकताको पहल भइरहेको भनिरहँदा शुक्रबार केन्द्रीय कमिटी बैठकबाटै नेपाल पक्षका २३ जना नेतालाई सर्वोच्च अदालतको मुद्दा फिर्ता लिन औपचारिक निर्देशन दिनुले अब ओली असन्तुष्टहरूलाई केन्द्रीय कमिटीबाट थप काबवाहीको दिशातर्फ अघि बढ्न खोजेको संकेत गरेको छ । त्यस्तै नेता नेपालले पनि औपचारिक तहबाट भइरहेका वार्ताहरूको उति अपनत्व लिएका छैनन् । आफूनिकट नेताहरूको पहलमा ओलीसँग भेटघाट गराउने कोसिस हुँदा पनि नेपाल शुक्रबार प्रत्यक्ष रूपमा भेट्न तयार भएनन् । उनीहरूबीच बिहीबारको टेलिफोन संवादसमेत हार्दिकतापूर्ण हुन सकेन । ओलीले शुक्रबार बैठकमै नेपाललाई फोन गरेर भेटौं भन्दा नमानेको जानकारी गराएका दिए । ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें । २०–२५ मिनेट कुरा गरें । भेटौं भन्दा मान्नुभएन,’ ओलीले भनेका थिए, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भनेर माधवले भन्नुभयो ।’ यी घटनाक्रम र शैलीले एमालेको एकताको प्रयासमा झन् बढी अप्ठेरो सिर्जना गरेको छ ।
खनाल–नेपाल समूहले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक विधिसम्मत नभएको भन्दै आएको थियो । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा माओवादी केन्द्र छाडेर आएका नेतालाई समेत राखिएको भन्दै नेपाल समूहले आपत्ति जनाएको थियो । बैठक रोक्न माग गर्दै शुक्रबार पनि खनाल–नेपाल समूहका नेताहरू बालुवाटार पुगेका थिए । तर खनाल–नेपाल समूहको यो आपत्तिका बीच ओलीले शुक्रबार बैठक राखेर यही कमिटीलाई आधिकारिकता दिने खोजे । जुन बैठकमा ओलीले एकताभन्दा बढी खनाल–नेपाल समूह चिढिने खालको भाषामा सम्बोधन गरे । खनाल–नेपाल समूहका नेताहरू विपक्षी गठबन्धनमा सामेल भएको विषयलाई ओलीले गम्भीर रूपमा लिए । ‘अदालतलाई दबाब दिन र खासगरी प्रगतिशील शक्तिलाई बदनाम गर्नका लागि अनेक प्रकारका प्रयास भएका छन् । त्यसभित्र पसेर अन्तरध्वंस मच्चाउने र पार्टीमा अराजकता सिर्जना गर्ने प्रयास सुरु भएका छन्,’ बैठकमा अध्यक्ष ओलीले भनेका थिए, ‘आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेताको सरकार बनाउने जस्तो लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली र दलीय अनुशासन उल्लंघन गर्ने र अराजकता सिर्जना गर्ने काम भएका छन् ।’
ओलीले राजनीतिक रूपमा अराजकता फैलाउने काम भइरहेको र त्यसमा आफ्नै पार्टीका नेताहरू संलग्न भएको उल्लेख गरेका थिए । पार्टी अनुशासन उल्लंघन गर्ने विषयलाई आफ्नो ठूलो बहादुरी ठान्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले बैठकमा विपक्षी गठबन्धनका नाममा भइरहेको सडक प्रदर्शन, कोरोना महामारी रोकथाम र नियन्त्रणका प्रयासमा राजनीतिक दलहरूबाटै अवरोध भएको लगायतका विषयमा टिप्पणी गरेका थिए ।

गौतमको ॅइन्ट्री’
सर्वोच्च अदालतले ओलीद्वारा गठित महाधिवेशन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्नचिह्न उठ्ने गरी आदेश दिएपछि त्यही कमिटीमा रहेका व्यक्तिहरूलाई समेटेर गत बुधबार केन्द्रीय कमिटी ब्युँताइएको थियो । यो निर्णयले लामो समयदेखि असन्तुष्ट हुँदै मझधारमा बस्दै आएका वामदेव गौतमलाई भने कित्ता स्पष्ट गर्न सजिलो भएको छ । उनी शुक्रबार बालुवाटारको बैठकमा उपाध्यक्षको पुरानै हैसियतमा उपस्थित भए । उनले दायाँबायाँ नलाग्ने वाचा गरे । उनले तत्कालीन नेकपामा खटपट आएपछि दुई धारलाई मिलाउने भन्दै एकता अभियान थालेका थिए । त्यसपछि अदालतको फैसलाअनुसार नेकपा एकतापूर्वको अवस्थामा पुगेर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतमले एमालेभित्र एकता अभियान चलाउने घोषणा गरे । तर उनको अभियान अघि बढेन । शुक्रबार बैठकमा उनले अब एकताको कामको विशेष जिम्मेवारी आफूलाई दिन ओलीसँग माग गरे ।
पार्टीको बैठकमा स्वागत गर्दै ओलीले ‘गौतमलाई अब कतै नजानुहोस् है’ भनेर व्यंग्य गरेका थिए । त्यसपछि आफ्नो बोल्ने पालोमा उपाध्यक्ष गौतमले त्यसलाई स्विकारे । ‘अघि अध्यक्षले कमरेडले आउने जाने नगर्नुहोस् भन्नुभएको थियो । म तपाईंहरूसँग आइसकेको छु, फर्कन्नँ । तर आफ्ना सुझाव राख्छु, म क्रिटिकल छु । जे शब्दहरू आउँछन्, त्यसमा ताली समर्थन गर्ने मान्छे म होइन ।’ उनले पार्टी एकता गराउने प्रयोजनका लागि आफू ओलीसँग मिसिन आएको उद्घोष गरे । ‘कम्युनिस्टहरूको कार्यगत एकता र टुटेफुटेको पार्टीलाई मिलाउन तपाईं मलाई जिम्मेवारी दिनुहोस्,’ गौतमले ओलीसमक्ष भने, ‘तपाईंलाई चित्तबुझ्ने गरी पार्टी एकता र वामपन्थी एकता गराउँछु । म लागेँ भने हुन सक्छ ।’
गौतमले पार्टी एकता गर्ने उद्देश्यले नै मुख्य नेताहरूसँग छलफलमा बस्न ओलीलाई सुझाव दिए । केन्द्रीय कमिटीमा वर्षौं काम गरेको योग्य व्यक्तिहरू भएकाले उनीहरूलाई बोलाएर छलफल गरी सहमतिमा जानुपर्ने उनको सुझाव थियो । उनले आफूले कुनै पनि नेताहरूलाई कुभलो नचिताएकाले सबैलाई भलो हुने सुझाव र काम गर्ने गरेको दाबी गरे । ‘म लागेपछि सफलता प्राप्त हुन्छ । म पार्टी एकता गराउनका लागि तपार्इंसँग आएको छु । यो बैठकमा आएर बोल्न पाउँदा म अत्यन्त खुसी छ । म अहिले तपाईंको सबैभन्दा नजिक हुँ । तपार्इं नै सफल हुनुपर्छ ।’ उनले नेपालसहितका नेताहरूसँग मिलेर मात्र पार्टी एकता जोगिने बताए । नेपाललाई कारबाहीको बाटोतर्फ लाग्दा उनीसँगको कार्यकर्ता पंक्ति भड्किने उल्लेख गर्दै उनले त्यस्तो काम नगर्न ओलीलाई सुझाव दिए । गौतमले आफ्नो पार्टीको सरकारविरुद्ध उभिएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गलत भएको जनाउँदै खनाल–नेपाल समूहको पनि आलोचना गरे । पार्टी छाडेपछि मात्र त्यस्तो गर्न मिल्ने उनको धारणा थियो । केन्द्रीय कमिटी बैठक शनिबार पनि बस्नेछ ।

 

Page 4
शनिबार विशेष

कोरोनाकल्प

- शिवानीसिंह थारू

कोरोनालाई जितेपछि कस्तो महसुस हुन्छ ?
कोरोनालाई ‘जितेपछि’ जिन्दगी बेसार–पानी महसुस हुन्छ । ‘जितेको’ कैयौं दिन भइसक्दा पनि सुक्खा खोकीको लहरे ठाउँठाउँमा विजयी गान सुनिन्छ । कोरोनेसित लडियो भनेर गर्वले फोक्सोभरि सास लिन खोज्यो, आन्द्रा सोहोरिएर आएको एउटा करौंतीदार खोकीले छातीमा प्रहार गर्दै सम्झाइदिँदो रहेछ– मनुख्ये सासचाहिँ छोटो–छोटो नै ल !
खराखरी भन्नुपर्दा कोरोनालाई जितेपछि ‘जित्नु’ को अर्थ मैले पुनः परिभाषित गर्नुपरेको छ । ‘जित्नु’ लाई फेरिबाट ‘हार्नु’ सित दाँज्नुपरेको छ, ‘अजेय’ को कसीमा घोट्नुपरेको छ ।
‘जित’ सितको मेरो पहिलो भेट खेलको मैदानमा भएको थियो । बालमन्दिरको शिशुकक्षामा खेल प्रतियोगिता हुँदा म केही खेलहरूमा प्रथम भएकी थिएँ । माइकमा मेरो नाम घोषणा हुँदा दर्शकदीर्घामा पर्रर्र ताली बजेको थियो । त्यतिका धेरै तालीमा मेरा लागि मामाले बजाइरहेको ताली मात्रै कानमा गुन्जिएको थियो । मेरो हातमा परेको प्रमाणपत्र र स्टिलको कचौरामा मलाई उति वास्ता थिएन, जति वास्ता मामाको विजयी हाउभाउको प्राप्तिमा । कोठे लुंगी लगाएका मेरा मामा खुसीले भुइँबाट बुरुक्क उफ्रेका थिए । अनि उत्साहमा मतिर बेस्सरी हात हल्लाएका थिए । मभन्दा बेसी सायद उनी जितेका थिए । ‘जित’ भनेको यस्तै देखिँदो हो । ‘जित्नु’ भनेको मुटुमा यसरी नै लाग्दो हो । वस्तुतः जिन्दगीमा ‘जित्नु’ को अनुभूति ममा यसरी नै दर्ज भएको थियो । आफ्ना प्याराहरूका आँखामा आफ्ना लागि चमक, आफन्तका ताली, साथीभाइको उल्लास !
हैन भने खेल सकिनासाथ कुनै पनि खेलका विजयी खेलाडीलाई सोध्नुस् वा सोध्नुस् भर्खरै ताज पहिरिएकी सुन्दरी प्रतियोगिताकी विजेतालाई, नभए तात्तातो लटरी जितेका भाग्यमानीलाई ‘जित्दा कस्तो लागिरहेछ ?’ प्रायःले पहिलो लाइन यही भनेको सुनिन्छ, ‘मलाई विश्वास नै लागिरहेको छैन !’
त्यसैले भन्न सकिन्छ ‘जित’ आफैंमा केही पनि होइन । सामूहिक उल्लासको करेन्ट आफूसम्म आइपुगेर छोइँदा मात्र ‘जित्नु’ ले जीवन्तता पाउँछ ।
तर, जिन्दगीका जटिलतामा मान्छे कहिलेकाहीँ जितेर पनि हारेको हुन्छ । र, कहिलेकाहीँ हारेर पनि जितेको । यो विरोधाभाषी जित र हारको अनुभूति त्यतिबेला हुन्छ, जब प्रतिस्पर्धा आफैंसित हुन्छ वा आफ्नै मान्छेसित हुन्छ । र, त्यतिबेला पनि हुन्छ जब उही परिस्थितिमा पिल्सिएर आफ्नाहरू हारिरहेका हुन्छन् । आफू भने बल्लतल्ल उम्केर जितेको भान भइराखेको हुन्छ । यस्तो जिताइ, जसले हरेक क्षण आफ्नाहरू हारेको सम्झनाले चुकचुकाइराख्नुपरोस् ।
यसपालि त्यस्तै भयो, कोरोनालाई ‘जित्दा’ । मलाईजस्तै धेरै नेपालीलाई भएको हुनुपर्छ ।
कोरोनाग्रस्त भएर एघारौं दिनमा होलो हुँदा हाम्रा केही आफन्त र साथीभाइ हामीमाझबाट सदाका लागि बिदा भइसकेका थिए । नेपालगन्जमा तीन जना हाम्रा मान्छे अस्पताल लाँदालाँदै बितिसकेका थिए । एक जना भेरी अञ्चल अस्पतालको प्राङ्गणमा बेड कुर्दाकुर्दै मरे । काठमाडौंमा एक जना सानीआमालाई टेकु अस्पतालको वार्डबाहिर अक्सिजन दिइराखिएको थियो । यति सब भइसक्दा मिर्गौला डायलसिस गराइराखेका अर्का एक आफन्त जब मरे, हामी मृत्यको खबरले छुन नसक्नेगरी लाटिइसकेका थियौं । हाम्रा संवेदना शून्य भइसकेका थिए । त्यसैले कोरोनालाई जितेपछि ‘जित’ को स्वाद जिब्रोमा बेसार–पानीको तीतोपन भएर बसेको छ ।
कोरोनालाई झेलेर पुनः पीसीआर टेस्ट गराउँदा जब रिजल्ट नेगेटिभ आउँछ, त्यतिबेला चाहिँ संसारै जितेझैं लाग्छ । कोभिडको यो दोस्रो लहरमा त झन् कोरोना लाग्नु ठूलो कुरो भएन । हस्पिटल पुर्‍याइएर अक्सिजन लाउन नपर्ने हुँदामै आफूलाई विजयी ठाने भो । अनि जब ज्वरोले छ्यांग होइन्छ, त्यतिबेला पनि लाग्छ अब बाँचियो, अब त आफूलाई कहिले नि कोरोना लाग्दैन । त्यसपछि पछाडि फर्केर हेर्दा जिन्दगीको कालखण्ड दुई भागमा आफ से आफ बाँडिन पुगिन्छ । कोरोना लाग्नुभन्दा अघि र कोरोना लागेपछि ।
उसै पनि आम नेपालीका लागि यो दोस्रो लहरको सुनामीले समयलाई दुई फ्याकमा बाँडिदिएको छ । २०७८ को वैशाख १६ भन्दा अघि र १६ पछि । अक्सिजन, बेड, भेन्टिलेटरको हाहाकार हुनुभन्दा अघि र पछि । हरेक दिन ८ हजार संक्रमित र हरेक १० मिनेटमा एक जनाको मृत्युको त्रासदी सुरु हुनुभन्दा अघि र पछि । कमै मान्छे अछुतो रहे होलान्, जसलाई मृत्युको खबर सुन्न नपरेको होस् । कसैले परिवारका सदस्य गुमाएका छन्, कसैले आफन्त । कसैका साथीभाइ बितेका छन्, कसैका आत्मीय छिमेकी । जो–जो उम्के उनीहरू झन्डैझन्डै सास गएको व्यथाबाट धन्नधन्न बाँचेको कथा भन्न सरभाइभ भए ।
यही नियतिबाट गुज्रिँदा जब मैले कोरोना लागेपछिको समयलाई लाग्नुभन्दा अघिका दिनसँग दाँजे, संसार उही नहुनेगरी फेरिइसकेको थियो । कोरोनाले शिथिल हुनुभन्दा एक महिनाअघि म नेपालगन्जबाट होली मनाएर फर्केको थिएँ । उता होली खेल्ने तरिका पूरा फिल्मी हुँदै आएको छ । नेपालगन्जको पुरानो बजारको हरेक गल्ली र चोकमा जसरी होली खेलिएको थियो, त्यसले आलेख लेख्न उत्प्रेरित गरेको थियो । ओरहान पामुकको ‘इस्तानबुल’ शैलीमा नेपालगन्जलाई एउटा प्रेमपत्र लेख्दै थिए ः ‘दास्तान–ए–नेपालगन्ज’ को शीर्षकमा । त्यो पत्ररूपी आलेखमा ती दाइहरू पनि थिए, जो कोरोनाले बितेर गए । तीन हजार शब्दको सीमिततामा सहरप्रतिको अनुराग पूरै समेट्न मुस्किल हुन्छ । तैपनि ती पात्रहरू नसमेटी हुँदैनथ्यो । किनभने मेरा लागि ती मान्छेहरू सहरलाई यादगार बनाउने कडी थिए । जस्तै नेपालगन्जका साँघुरा गल्ली, भत्केका शिवालय, बिर्सिएका एक्कामानहरू थिए ।
ती तीनै जना एकदम सामान्य मानिस थिए । हुन सक्छ, उनीहरूमध्ये कसैको मृत्यु सरकारी आँकडामा दाखिला नभएको होस् । त्यसै पनि कोभिडले मृत्यु भएकाहरूको संख्या रेकर्डमा देखिएभन्दा बेसी छ अरे ! केही आत्मीय टोलवासीले मात्र थाहा पाउनेगरी ती मरे कि ? वा सरकारी आँकडाको गन्तीमा नछुटाइएर दाखिला भए ? भइहाले पनि कतिऔं मृतकको रूपमा अंकित भए होलान् ? थाहा छैन । यति मलाई थाहा छ, पत्रिकामा वैशाखभरि चार हजारको मृत्यु भनिँदा त्यो ४ हजार वडा क्रूर लागेका थिए । दिनहुँ पत्रिकामा पढिने मृतक संख्याका अंकजस्ता चिसा, स्यानिटाइज गरिएका, प्लास्टिकले बेरिएका शवजस्ता अमानुष लागेका थिए ।
मृत्युको खातमा उनीहरू फगत अंकमा देखिए पनि सम्झिनेहरूले उनीहरूलाई धेरै कोण भएका ज्यामितीय आकार र प्रकारमा सम्झिरहनेछन् । भलै ती सहरका आम मानिस थिए । एक भोट, नागरिकतामा टाँसिने एक श्यामश्वेत अनुहार, भीडमा एक टाउको थिए । चिन्नेहरूका लागि उनीहरू राधेश्याम वैश्य, गुड्डु श्रेष्ठ र अवधमान पति थिए । ‘दास्तान–ए–नेपालगन्ज’ को संस्मरणमा राधेश्याम दाइलाई ‘झन्कार बिट्स’ वाला भनेर सम्झिँदै थिएँ ।
यदि तपाईं आजभन्दा तीस वर्षअघि नेपालगन्ज जानुभएको भए, पुरानो बजारको मुटुमा रहेको त्रिभुवन चोकको एक फन्को जरुर लगाउनुहुन्थ्यो । त्रिभुवनको सेतो सालिक फर्केको दिशाको ठीक उत्तरतिर लाग्नुभएको भए बीचमा राम–सीताको मन्दिर देख्नुहुन्थ्यो । मन्दिरको वरवर जति आउनुहुन्थ्यो, तपाईंले कि त चुप लाग्नुपर्थ्यो कि त चिच्याईचिच्याई कुरा गर्नुपर्थ्यो । किनभने मन्दिरसित सटेको पसलबाट कानफोडु गीत घन्किरहेको हुन्थ्यो । भजन होइन हिन्दी फिल्मको ढिकचिक ढिकचिक । त्यहाँ राधेश्याम दाइ क्यासेट बेच्नुहुन्थ्यो । घन्किरहेको कुनै पनि गीत स्पष्ट बुझिन्नथ्यो किनभने गीतमा पछिबाट थपिएको ‘झन्कार बिट्स’ ले कान खाइरहेको हुन्थ्यो । यसपालि होलीमा नेपालगन्ज बजारका हरेक गल्लीमा जसरी स्थानीयहरू आठ–दसवटा स्पिकर लगाएर नाचिरहेका थिए, राधेश्याम दाइको ‘झन्कार बिट्स’ को घनक फेरिबाट कानमा गुन्जिएको थियो । र, लेख्न कुतकुत्याएको थियो नेपालगन्जियाहरूले चोक बजारको त्यो भागमा पुगेपछि गर्ने व्यवहार, जुन सम्झिदा नमुस्कुराइरहन सकिन्न ।
तर, राधेश्याम दाइ जसरी यो दोस्रो लहरमा बितेर गए, लेख्ने चौचौ पनि शिथिल भएर गयो ।
गुड्डु दाइलाई सम्झिँदा ‘एक थिए गुड्डु दाइ’ भनेर लेख्नैपर्ने हुन्थ्यो । किनभने मैले त्यही बेलाको गुड्डु दाईलाई सम्झिरहेको हुन्थें, जतिबेला उनी इन्द्रजाल कमिक्सको ‘चलता फिरता प्रेत’ को खानी थिए । उनको कमिक्स खानीमा लत नलागेको भए सायदै ममा कमिक्सको लेखक र चित्रकार बन्ने हुटहुटी जाग्थ्यो । कमिक्सकारिताचाहिँ सकिएन गर्न । तर, त्यही हुटहुटीले मलाई कथाकारितातिर डोर्‍यायो । घरलाई नै कमिक्सको गोदाम बनाउने उनको लहडलाई आफन्तहरूले ‘एउटै छोरोको सनक’ भनेर कुरा काट्थे । मलाई भने उनी गजबका लाग्थे । किनभने उनी इन्द्रजाल–कमिक्सका ‘चलता फिरता प्रेत’ र राज–कमिक्स सिरिजका रोमान्चकारी पात्रहरूसित दिन बिताउँथे ।
आउँदो साल नेपालगन्ज जाँदा डीएसपी रोडमा भएको उनको घरतिर सधैंझैं घाँटी तन्काई तन्काई कसरी हेरुँला ! रूखैरूखले छेलिएको उनको घर र झ्याम्मिएका रूखहरूको बीचबीचबाट देखिने जालीझ्याल देख्दा कतै झ्यालपछाडि गुड्डु दाइ त उभिएका छैनन् भन्ने ख्याल कसरी मेटाउँला । अलविदा गुड्डु दाइ ! नेपालगन्जमाथि संस्मरण लेख्नु र गगनगन्ज टोल छुटाउनु, हुनै सक्दैनथ्यो । गगनगन्जको बारेमा लेख्नु र अवध दाइको प्रसङ्ग छुटाउनु, त्यो पनि हुन सक्दैनथ्यो । किनभने गगनगन्जका किस्साकहानीहरूमा उनको पनि एउटा च्याप्टर छ जादुई यथार्थका कथा जस्तै कथ्न मिल्ने । उनको ‘बिनाका स्माइल’ र सेतो गन्जी ! काठको लाम्चो बरान्डामा उभिरहनु र माथिबाटै आउने–जानेसित हालखबर सोध्नु अनि मलाई देख्नेबित्तिकै भन्नु, ‘अरे कब आयौ ?’ उनलाई सम्झिँदा आउने झझल्काहरू हुन् । म उनको साइकल र अँधेरी बगियाको प्रसङ्ग लेख्न आतुर थिएँ । तर, जसै आमाको मोबाइलको घन्टी बज्यो, उताबाट कसैले खबर दियो, ‘अवध भी गुजर गवा !’ मेरो कलम पनि चिसियो । अब नेपालगन्ज जाँदा मेरा आँखा पक्कै त्यो काठको बरन्डामा पुग्नेछन् । खालिखालि त्यो बरान्डामा मैले सुन्नेछु उही आवाज, ‘अरे कब आयौ ?’
गएको चैतमा कसलाई थाहा थियो, सयौं नेपालगन्जियाहरूको त्यो अन्तिम होली हुँदै थियो । पूर्वयोजना बिनै म होलीमा नेपालगन्ज पुगेको थिएँ । रमाइलो संयोग जुरेको हुनाले म फेरि आफ्नो बाल्यकालतिर फर्किएको थिएँ । अहिले सोच्दा लाग्छ, सायद सहरले मलाई तानेको थियो बिदाइको अन्तिम रङ लगाउन । किनभने मैले दिदी र दाइ भन्दै हुर्किएको अघिल्ला पुस्ताका धेरैले दोस्रो लहरमा ज्यान गुमाउन पुगे ।
नेपालगन्जमा होली यस्तो पर्व हो, जहाँ मान्छेहरू आफ्ना आफन्त र छिमेकीसित मात्र होली खेल्दैनन् । चिन्ने–नचिन्ने सबै एकसाथ एकअर्कासित चाड मनाउँछन् । हिन्दु समुदाय चोकमा जम्मा भएर सामूहिक रूपमा नाच्छन्, गाउँछन् र सद्भाव साटासाट गर्छन् । मुस्लिम समुदायकाहरू रमाइलो मान्दै आ–आफ्नो छतबाट हेर्छन् । कसलाई थाहा थियो, सामूहिक रूपमा मनाइएको होलीको एक महिनापछि नेपालगन्ज फेरि सामूहिक रूपमै शोकमा डुब्नेछ ।
दोस्रो लहरमा धेरैलाई मृत्युले छक्याएर लगेको छ । कोभिड लाग्दा पहिले त यसले रुघाखोकीसित मिल्दोजुल्दो लक्षण देखाएर झुक्यायो । बिरामी पहिल्यै सतर्क हुन पाएन । अघिअघिजस्तो त हो नि भन्ने भ्रममा ऊ भित्रभित्र सहँदै बस्यो । बिस्तारै जब भाइरसले च्याप्दै ल्यायो बल्ल ऊ सतर्क भयो । त्यसपछि डराईडराई पीसीआर टेस्ट गरायो । र, नहोस् नहोस् भन्दाभन्दै रिजल्ट ‘पोजिटिभ’ आयो । अनि सुरु भयो कालसित एक्लै लड्नुपर्ने महाकाल – ‘होम आइसोलेसन’ । डाक्टरहरूको प्रत्यक्ष सम्पर्कमा रहने सुविधाबिना ऊ होम आइसोलसनमा गाह्रो हुँदा पनि भरेभोलि ठीक भइहाल्ला नि भन्दै थेग्न खोज्यो । त्यही आसमा उसको अक्सिजन लेभल झर्दै गयो । स्थिति जटिल भएपछि एम्बुलेन्स, अस्पताल, बेड र अक्सिजन खोज्दाखोज्दै ऊ अन्तिमावस्थामा पुग्यो ।
ती तीनै जना दाइहरू यही अवस्थाबाट गुज्रिएका हुन् । अहिले आएर वस्तुस्थितिलाई डाक्टरले झैं केलाउँदा सबैले टिप्पणी गर्छन्, ‘यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो’ । तर, जब आफूलाई पर्छ, मान्छे हतासिएर तर्कशून्य हुन्छ । किनभने यो अवस्थामा टिप्पणी गर्नेले दुइटा कुरा भुलिराखेका छन् । यसपालि अस्पतालको बिजोग देखेर तर्सिएका बिरामी र परिवारजनलाई सकेसम्म अस्पताल जानु नपरोस् भन्ने थियो । अर्को, पीसीआर टेस्ट गराइहाल्नुपर्ने संक्रमितहरू ढिला गरी स्वाब दिन पुगेका थिए । आफैं गएर सुटुक्क टेस्ट गर्नुपर्ने सामाजिक वातावरण भएपछि नच्यापुन्जेल बिरामीहरू सकेसम्म भित्रभित्रै ठीक हुन खोजे । प्राइभेटलाई बढी पैसा दिए घरमै स्वाब लिन नआउने होइन । तर, आर्थिक अवस्था कमजोर हुने र डेरामा बस्नेलाई कसरी सम्भव हुनु ! जो दिन सक्छन् तिनीमध्ये पनि धेरैले आँट गर्न सकेनन् । किनभने पीपीईधारीहरू टोलछिमेकमा स्वाब लिन आएको देख्दा भोलिपल्टदेखि सामाजिक बहिष्करणमा परेझैं ‘साइलेन्ट ट्रिटमेन्ट’ दिन थाल्ने हुन् । छिमेकीहरू बोल्नुपर्ला भनेर आँखा जुधाउन पनि पन्छिने हुन् । परैबाट ‘छिटो निको हुनुहोला’ भनेर ढाडस दिनु त टाढाकै कुरा ।
वैशाखको अन्तिमतिर जब दिनमा ढाई सयको मृत्यु भइराखेको थियो, पत्रिकाको हेडलाइनमा पढिन्थ्यो, ‘बेलैमा उपचार नपाउँदा बढी मृत्यु ।’ यो खबरले सूचित हुँदाहुँदै पनि आखिर म नि त्यही मनोदशामा पुगेँ, जसको सिकार अरूहरू भइसकेका थिए । मेरो अक्सिजन लेभल ९२–९४ भए पनि मसँगै संक्रमित भएकी ६९ वर्षीया आमाको ९२ भन्दा तल थियो । र, क्रमशः घट्दै गइराखेको थियो । म भने अहिले बढ्ला र भरे बढ्लाको पर्खाइमा अक्सिमिटरले जाँचेको जाँचे भएकी थिएँ । जबकि डाक्टरहरू भनिराखेका थिए ९२ भन्दा तल झर्‍यो कि अस्पताल ल्याउनु । ल्याउनु त ल्याउनु, बिनाबेड र अक्सिजन सिलिन्डरको कुन अस्पताल धाउनु ?
तै आमाको छाती खासै दुखिराखेको थिएन । अर्को भरथेग के थियो भने उनले कोभिसिल्डको पहिलो डोज लगाएकी थिइन् । भए पनि त्यो अधकल्चे एक डोजको दायरा कति हो धान्ने ? यति र उति प्रतिशत भने पनि आत्तिएको बेला त्यसको अधकल्चोपनमा मान्छे बढी सशंकित हुन्छ । बिरामी फ्याट्टै मर्‍यो भने त विज्ञानले भन्ला, ‘यो रेयर केस हो ।’ जसरी ‘मिराकल केस’ को सफलतमा भन्ने गर्छ । गुमाउनेलाई त्यो ‘रेयर केस’ को विज्ञानले सान्तवना दिँदैन । आफ्नालाई बचाउन नसकेको थकथक जिन्दगीभरि रहिरहन्छ । त्यसैले जुन दिन अक्सिजन लेभल झ्याप्पै ८० मा झर्‍यो, मलाई डरडर लाग्न थाल्यो । कतै भित्रभित्रै ‘साइलेन्ट हाइपोक्सिया’ (अक्सिजन लेभल शरीरमा घट्दै जानु तर, बिरामीमा त्यसको लक्षण नदेखिनु) त भइराखेको छैन ? मलाई केही सुझेन । म एम्बुलेन्स बोलाउने तरखरमा लागेँ ।
तर, आमालाई के भएको ! उनी त ‘अस्पताल जान्न मरे यहीँ मर्छु’ पो भन्न थालिन् । त्यसपछि जतिखेर पनि ‘मलाई केही भएको छैन’ भन्न
थालिन् । मलाई लाचार भएपछि लाग्ने रिस लाग्न थाल्यो । केही भए पनि अस्पताल लैजाला भन्ने डरले यिनले त यही रट लगाएर बसेकी छन् । मैले सोचिसकेको थिएँ । अब सोधेर होइन, एम्बुलेन्समा जबरजस्ती राखेर लैजान्छु ।
सात दिनपछि एकएक खुड्किलो गर्दै अक्सिजन लेभल ८७ मा आइपुग्यो । ‘मलाई केही भएको छैन’ को रटनाले आमालाई बल दियो कि वा घर तलमाथि हिँडडुल गर्न दिएर हो, थाहा छैन । थाहा नभए पनि यति त थाहा थियो ८७ पनि पर्याप्त थिएन । तर, बिस्तारै बढ्ला भन्ने आसले मलाई थामिरह्यो ।
हामी रातमा बढी तर्सिन्थ्यौं । अक्सिजन लेभल बिहान अलि बढ्थ्यो, सुत्नेबेला फेरि घटिहाल्थ्यो । आधारातमा अक्सिजनको आवश्यक्ता पर्‍यो भने, कहाँ खोज्ने अक्सिजन ? कसले मिलाइदेला यो हाहाकारमा ? मन तुलबुलाउँथ्यो । लामोलामो सास फेरेर प्राणवायु तान्न खोज्यो खोकीको सिवाय केही हात लाग्दैनथ्यो । लाग्थ्यो, हाम्रो भागको अक्सिजन द्रव्यपिचाशहरूले तानेर सिलिन्डरमा भर्दै गोदाममा लुकाइरहेका छन् । बाँकी बचेको अक्सिजन राज्यका शक्तिशालीहरू हामीबाट तनतनी तानेर सास फेरिरहेका छन् । त्यसमाथि यसपालि अक्सिजन सिलिन्डर पैसाले होइन, समयको सेकेन्ड, मिनेट र घण्टा बन्धकी राखेर किन्नुपर्ने भइदियो, जुन राज्यको बुताले मात्र गर्न सक्थ्यो, त्यो पनि समयमै जोहो गरेको भए । तर, राज्य चलाउने सरकार हामीले भोट दिएर पठाएको ‘नेता’ ले होइन, गत पुस ५ देखि ‘सरदार’ हरूले चलाइरहेका छन् । हामीमाथि झेल त्यसरी भइदियो ।
यी सबले आत्तिएर राति म छतमा उक्लिन्थें । आँखाअगाडि सन्नाटा फैलिएको हुन्थ्यो । सहरतिर बलेका बत्तीमा चमक हुँदैनथ्यो । सायद सहरको बत्तीमा चहक भर्ने काम सहरका ध्वनिले गर्दा हुन् । सहर त लकडाउनको सुनसानमा थियो, उदास थियो, शोकमा थियो । धमिलो–न्यास्रो प्रकाशमा देखिएका हरेक घर ‘होम आइसोलन’ झैं प्रतीत हुन्थे । थानकोटबाट उपत्यका छिर्ने हाइवेमा एम्बुलेन्स कुदेका कुदै सुनिन्थे । साइरनको वाइँवाइँ पास हुन्जेल एम्बुलेन्सभित्र निश्चेत लडेका बिरामी र सँगै बसेको उसको मान्छे, आँखाअघि सर्रर्र आउँथे । त्यो कोलाहलपछिको डरलाग्दो शून्यमा मनमा एउटा बिरामी प्रश्न उब्जिन्थ्यो । आजको रात कति जनाको अन्तिम रात होला... ? उत्तरमा छेउछाउका डाँडामा बत्ती अहिले निभ्ला कि भरे निभ्ला जस्तोगरी टिमटिमाइरहेका हुन्थे ।
त्यसपछि तल आयो, सुत्ने प्रयास गर्‍यो । तर, उत्तानो सुत्दा एक मिनेट सास फेरेबापत दुई मिनेट खोकेर निस्सासिनुपर्थ्यो । कोल्टो सुत्दा नाक डम्म भएर सास लिन गाह्रो हुन्थ्यो । सिँक्क गरेर नाक खुलाउन खोज्यो, सामान्य रुघाखोकीमा नाक खुलेजस्तो हुँदैनथ्यो । त्यतिबेला लाग्थ्यो, सुत्दासुत्दै सास रोकिन्छ कि क्या हो ! निद्रामै सास चुँडियो भने ? आँखा त्यसैत्यसै जागा भएर आउँथे ।
मान्छेलाई मृत्युबोध हुँदा ऊ जिन्दगीको सुरुसुरुका कुराहरू बढी सम्झिने रहेछ । अन्त्यको आभासले आफू सुरु भएको जरा खोज्ने हो कि ? सायद त्यसैले मार्खेजले ‘हन्ड्रेड इयर्स अफ सलिट्युड’ उपन्यासको पहिलो लाइन यसरी सुरु गरेका होलान्, ‘धेरै वर्षपछि जब कर्नल अरिलियानो बुएन्डिया गोली दागेर मार्ने मृत्यु–दलको अघि उभ्याइनेछन्, मृत्यु पर्खंदै उनले सम्झिनेछन्, अतीतको त्यो एक मध्याह्न जब उनको बाबुले उनलाई पहिलो पटक बरफ पत्ता लगाउन लगेका थिए ।’ अहिले सोच्दा लाग्छ, मार्खेजले कति सत्य नजिक पुगी कस्तो संवेदनात्मक सच्चाइ (इमोसनल ट्रुथ) लेखेका रहेछन् ।
म पनि त्यतिबेला ७० को दशकको हिन्दी गीतहरू सुनिरहेको हुन्थे । गीतका बोल, स्वरलहरी र सांगीतिक मिठासले भन्दा पनि अर्कै कारणले । म तिनै गीत सुन्थें, जुन स्यानोमा हजुरआमासित खटियामा सडक किनारको आँगनमा सुत्दा सुन्न पुग्थेँ । नेपालगन्जको गर्मीमा कुनै सोखिन धर्के जाँघिया लगाएर, ट्रान्जिस्टर बोकी दस–एघार बजे पान खान निस्किएको हुन्थ्यो । ऊ हिँड्दै जाँदा गीत पनि टाढिँदै जान्थ्यो । टाढिँदै गएको ट्रान्जिस्टरबाट सुनिएको लता मङ्गेश्कर र मोहम्मद रफी झन् रुमानी लाग्थे । त्यो ध्वनिले मलाई मेरो बेफ्रिकी आफन्ती संसारमा पुर्‍याउँथ्यो । सुस्तरी आँखा लोलाउन थाल्थ्यो । ‘भोलि’ भए पनि नभए पनि त्यसले ‘आज’ मलाई खुसी दिएर जान्थ्यो ।
आत्मबलको कवचले आफूलाई बलियो बनाउँदा–बनाउँदै पनि कसरी–कसरी ‘मृत्यु’ सुटुक्क हाम्रो अवचेतनमा आइबसेको थियो । गफगाफ, हाँसोठट्टा र मौनतामा मिसिएर ‘मृत्यु’ हाम्रा कुराकानीमा सामान्य हुँदै गयो । घरमा भएका के कोभिड–पोजिटिभ के नेगेटिभ, सबै उही मनोदशामा बाँचेका थिए । दुई–तीन दिन बिराएर कसै न कसैको मृत्युको खबर सुन्नुपर्थ्यो । नेपालगन्जबाट फोन आउँदा त झन् आमा सुरुमै सोध्नुहुन्थ्यो, ‘आज कोही मरेछ ?’ ती दिनबाट आजसम्म आमाका प्रायः कुराहरू ‘म मरेपछि...’ को लाइनबाट सुरु हुन्छ । म मरेपछि मेरो लास नजले मट्टीतेलले नजलाउनू, म मरेपछि मैले साँचेका सामान हेरेर नहाँस्नू (त्यसमा हाम्रो कक्षा एकदेखिका रिपोर्ट कार्डहरू छन्), म मरेपछि कान्छी छोरी एक्लै हुने भइ... ! मानौं उनी मृत्युको तयारी गर्दै छिन् ।
उनको साथसाथ म नि भावुक भएको थिएँ । म पनि त्यही वाक्यांश आफूमा आरोपित गर्दै सोच्न थालेकी थिएँ । पछि त हुँदाहुँदा मलगायत १९ वर्षे बहिनी ‘म मरेपछि...’ जोडेर हावाहावा कुरा गर्न थाल्यौं । म मरेपछि भेजिटेरियन भूत बन्नेछु ! ननभेज भूतले जे पनि खाने होलान्, भेज भूतले मान्छेका अर्ग्यानिक सात्तो मात्र खाने होलान् ।
कति हलुका भएको थियो ‘मर्ने’ कुरा । कति सस्ता भएका थिए ‘मृत्यु’ हरू ।
दसौं, एघारौं, बाह्रौं गर्दै जब हामी चौधौं दिनमा आइपुग्यौं, हामीलाई लाग्यो एउटा कालचक्र पार गर्‍यौं । आमाको अक्सिजन लेभल ९२ भन्दा माथि आइपुग्यो, कमजोरी अलिलि घट्यो, स्वाद र बास्ना दुवै फर्कियो । तर, उनमा थकान र निराशा छाएको थियो । खानेबेला सधैं कोरोनाले मृत्यु भएका आफन्त र चिनेजानेकालाई सम्झेर उनी कुरा गर्न थाल्थिन् । आफूभन्दा कम उमेरका मान्छे भटाभट त्यसरी मर्दा पत्याउन गाह्रो पर्दो हो ।
यी सबबाट गुज्रिँदा मलाई भने समयको महत्त्व आत्तुरीसाथ बढेर आयो । लाग्यो, मसँग समय एकदमै कम छ । अझ कति जिन्दगीहरू पढ्नु थियो, छुटेका कथा र चाहेका नाटक लेख्नु थियो, नौलानौला सहरमा पुगेर हराउनु थियो । त्यसैले आफ्नो आयु अमूर्त समयको परिकल्पनामा होइन, कठोर भएर औंलामा गन्न थालेँ ।
त्यसका लागि मलाई फेरि पुरानै लयमा फर्किनु थियो । किनभने कोरोनाबाट मुक्त भए पनि त्यसले एकमदै गलाएर गएको थियो । आफूमा ऊर्जा भर्न पन्ध्रौं दिन जब म योग गर्न थालेँ, आफू बाँचेको अनुभूतिले पुलकित भएर आएँ । टेबलमा थियो खाएर बाँकी रहेको सिटामोलका पत्ती, खोकीको आधा खाली सीसी, मल्टिभिटामिनका चक्की । यत्ति नै खाएर कोरोना जितिएको हो त ? कति सामान्य लाग्यो कोभिड–१९ । लाग्यो, संक्रमणको पहिलो हप्ता पार गरे कालबाट फुत्त उम्किने रहेछ ।
तर, यति ‘फुत्त’ पनि पार गर्न नसकेका राधेश्याम, गुड्डु र अवध दाइहरू मनमा आए । ‘अल्लिकतिले’ ‘अल्लिबेरले’ जस्ता थकथकले मन खल्लो बनायो । आखिर त्यो ‘फुत्त’ के थियो ? अक्सिजन लेभल जाँचिरहनुपर्ने थियो ? सास फेर्न गाह्रो हुनेबित्तिकै अस्पताल लगिहाल्नुपर्ने थियो ? तर, गएर पनि के गर्थे ? अक्सिजन पो कहाँ थियो र ? भाउजूका सानो बुबा भेरी अञ्चल अस्पतालमा बेड र अक्सिजन कुर्दाकुर्दै इमरजेन्सीको करिडरमा बितेका होइनन् ?
त्यसपछि केही पनि सामान्य लागेनन् । योग गर्दागर्दै म रोकिएँ । मनमा विषाद भरिएर आयो । त्यसदिन म खुब रोएँ । किनकिन आँसु नै थामिएनन् ।

उपसंहार
हामी तराईका मान्छे । कम्तीमा पनि दस किसिमका आँपको नाम हामीलाई कण्ठै हुन्छ । दसेरीबाट सुरु भएर चौसा, लंगडा, सफेदा र टप्कासम्म । तर, काठमान्डुका मध्यमवर्गीयहरूको भागमा धेरैजसो मालदा नै परिरहेको हुन्छ । मालदा नै सही ! वैशाख, जेठ, असारसम्म आँप खाँदा घरमा आँपसँगसम्बन्धी उही किस्सा सुन्ने र सुनाउने गरिन्छ । तराईका पाका उमेरका मान्छेहरूले आँप खादा भनेका कुरा मन दिएर सुन्नुस् । उनीहरू एकैपल्ट बाल्यकालमा पुग्छन् । आँपको रङले लोभिएर, बास्नाले जिभ्रो रसाएर, रस चुहाउँदै मुखभरि हाल्दा त्यो स्वादले मान्छेलाई यस्तो ठाउँमा पुर्‍याउँदो हो, जहाँ तमाम तिर्खाहरूको बाबजुद मान्छे तृप्त हुँदो हो ।
हरेक वर्ष हाम्री आमा आँप खाँदा भन्ने गर्छिन्, ‘जो अर्को वर्षसम्म बाँच्छ त्यसले मात्र आँप खान पाउँछ ।’ तर, यस वर्ष आँप खाँदा आमाले त्यसो भनिनन् । खालि यति मात्र सोधिन्, ‘भ्याक्सिनको अर्को डोज कहिले आउँछ ?’
कोरोना भाइरसको तेस्रो लहर आउँदा बाँचिएला/नबाँचिएला । यो वर्षको आँप अन्तिम पनि हुन सक्छ !

 

शनिबार विशेष

सत्ताको उमेर

- रामगोपाल आशुतोष

 

कोभिडसँग युद्धविराम गरेर एक महिनापछि फर्केको छु आफ्नै लयमा ।
जसरी फर्किन्छन् स्वाधीन घरमा
पूर्वको घाम हेर्दै भोकको समाधान गर्न हिँडेका
किसानहरु मजदुरहरु, श्रमिकहरु
पश्चिम यात्रामा हिाडेको घामलाई खर्पन वा डोकोभित्र हाल्दै ।
उः हेर्नुस् त –
पक्षीहरु पनि फर्किरहेछन् गुाडमा ।
दिदीबहिनीहरुले
भर्खर बिसाएका छन् आागनको डिलमा घाासको भारी
दाउराको भारी बिसाएर पसिना पुछ्दै
खुइय्य.... निश्वास भरेजस्तै
लामो लामो सास तान्न सक्ने भएको छु म ।
अलपत्र ज्याला मजदुरहरुका फोक्सोले थाहा छैन
कतिन्जेल फेरिरहन सक्लान् लामो–लामो सास Û?
धमिराले खाएको रुखजस्तो
कट्कटी दुख्ने शरीर हाइसन्चो भएको छ,
रूघाले बगिरहने नाक
झरीको थामिएपछिको मौसमजस्तै खुलेको छ,
मर्छु कि जस्तो लाग्ने रोगी सोच पछि भेटौंला है भन्दै छुटेको साथीजस्तै हराएको छ ।
कोभिडसाग लडेको एक महिनापछि
खोक्दा खोक्दा अनिदो रात
आमाको काखमा सुतेको बालकजस्तै निदाउाछ ।
महामारीले
धेरैलाई लगेको छ मृत्युको डोली चढाएर
नेलले बााधेर लानुपर्ने त
भ्रष्टाचार, अनियमितता, माफियातन्त्र
गुन्डागर्दी, बलात्कारी, घूसखोर, हत्यारा
दलाल, गोयबल्स र सामूहिक लुटेरालाई हो Û
सीसीएमसीले दिने
सङ्क्रमित र मृत्युको आाकडा सुन्दा दुख्ने मुटु
भूकम्पले थिलथिलो
पहाडी गाउाका बस्ती र सहरमा
नदीलाई जिस्क्याउन हिँडेको
आलिसान सपनाको पुाजीबजारमा
बाढी पसेको दुखद समाचार कसरी हेर्न सक्नु ?
कोरोनाले जस्तै बाढीले
– सयौं उद्यमीको सपना बगाएको छ
– हजारौं व्यवसायीको लगानी डुबाएको छ
– अनेकौं किसानको खुसी पुरेको छ
– बाली लहलहाउने खेतबारीलाई उजाड मैदान बनाएको छ
यही सङ्क्रमणका बीच
मैलेजस्तै
मेरो देशका मुखले पनि स्वाद गुमाउने हुन् कि Û
नाकहरु सुगन्ध गुमाएर शोकमग्न हुने हुन् कि ÛÛ
अझै कति धपिने हुन्
रूघाका रोगी र खोकीका बिरामीहरु
ज्वरोले थलिएका र घाँटी दुखेर छटपट
शरीर कट्कटी खाने पीडितहरु
कालोबजारीले
सारा विधिविधानलाई उलङ्घन गरेको छ
मूल्यवृद्धिले
सारा मानवीयतासित नाता तोडेको छ
बैंकले
घाम लागेको बेला दिएको छाता
यो अविरल वर्षामा
फिर्ताका लागि ताकेता र धम्की दिइरहन्छ
प्रिय शासक
रोक राजनीतिक, सरकारी र नीतिगत धुर्त्याइँ
लाज छोप सरकार
र, पढ आफ्नो घोषणापत्र
सुन र हेर आफैंले
भाषण, राष्ट्रको नाममा सम्बोधन र प्रतिबद्धताहरु
बन्द गर आफ्ना काला कर्तुत
र, फेर आफ्नो कालो रगत
कि
पर्ख अर्को बाढीपहिरो Û

 

Page 5
शनिबार विशेष

६७ भाषाको वर्णमाला : अलिखित कथा!!!

- डा. माधव प्रसाद पोखरेल

मैले अहिले सम्म नेपालका ६७ ओटा मातृभाषाको वर्णमाला बनाएको छु । तिनीहरू मध्ये धेरैजसो अलिखित नै थिए । ती मध्ये ४३ ओटा भोट बर्मेली, २० ओटा भारोपेली, दुइटा आग्नेय, एउटा द्रविड र एउटा कुसुन्डा भाषा छन् ।

भोट बर्मेली भाषा
उत्तरवैदिक र पौराणिक साहित्यका आधारमा हिमाली भाषा बोल्ने जातिलाई ‘किरात’ वा ‘किलात’ भनिएको पाइन्छ (म्याक्डोनेल र किथ, ‘वेदिक इन्डेक्स) । राहुल सांकृत्यायन (गढवाल) ले पिथौरागढको ‘राजी’ भाषालाई ‘राजकिरात’ भनेका छन् । भारविको ‘किरातार्जुनीय’ महाकाव्यमा अर्जुनसँग किरातेश्वर महादेवको युद्ध भएको ठाउँ उत्तराखण्ड मानिएको छ । अर्कातिर ‘महाभारत’ मा ‘प्राग्ज्योतिष’ (असम) बाट कौरव पक्षको लडाइँमा भाग लिने ‘किरात’ राजा भगदत्त थिए । ‘अथर्ववेद’ मा ओखतीमूलो खन्ने किराँतिनी (‘किरातिका’) पनि पश्चिम तिरकै हो । यी साहित्यलाई हेर्दा ‘किरात’ शब्दले आजको नेपालको एक नम्बर प्रदेशका किराँती जाति मात्र जनाएको बुझिँदैन । ‘किरात’ शब्दले गढवालको ‘बुनान’ भाषादेखि लिएर नागाल्यान्ड, मिजोरम, मणिपुर, त्रिपुरा र सम्भवतः बर्मा सम्मका भोट बर्मेलीभाषी जाति जनाउँछ । भाषा वैज्ञानिकहरूले यी सबै भाषालाई जनाउन ‘हिमाली’ शब्द चलाएको पाइन्छ । मैले वर्णमाला बनाएका नेपालका भाषा यी हुन् (मातृभाषाका सूचकहरूका नाम कोष्ठमा दिइएका छन्) ः
भोट बर्मेली हिमाली भाषा
मेचे (पागलसिंह मेचे, आयाबाडी र सन्तलाल मेचे जलथल अनि मेचे समाज), धिमाल (पात्र धिमाल धाइजन, रामजी धिमाल दमक), लिम्बु (येहाङ लावती, दिलेन्द्र सुब्बा), छथरे लिम्बु (गोविन्द सुब्बा), याक्खा (रामजी कोङ्ग्रेन धनकुटा र याक्खा समाज), मारेक याक्खा (याक्खा समाज), मेवाहाङ (गणेश राई याफु र मेवाहाङ समाज), लोरुङ (लोरुङ समाज), दुङ्माली (दुङ्माली समाज), लुफ्मि (लुफ्मि समाज करफोक), चाम्लिङ (चाम्लिङ समाज,बयानसिंह राई रतन्छा, टंकबहादुर राई हलेँसी, शान्ति कुमारी राई बलम्ता), साम्पाङ (साम्पाङ वक्ताहरू), दुमी (नेत्रमणि दुमी र दुमी समाज), कुलुङ (एम डी कुलुङ वालुङ), खालिङ (खालिङ समाज र राष्ट्रिय भाषाहरू संस्था), थुलुङ (रामलच्छी थुलुङ मुक्ली), बाहिङ (विश्वराज राई, मेखराज राई र बाहिङ समाज), उम्बुले वा वाम्बुले (नवराज राई बज्जराज राई उँबु, गणेश राई हिलेपानी, वाम्बुले समाज), सुनुवार (दिनेश कोर्माचा साल्मे खिजी, सुनुवार समाज), सुरेल (सुरेल समाज), हायु (ज्ञान बहादुर हायु र मसाली हायु मुडाजोर), थामी, थाङ्मी (मुङ्लीमाया थामी कालिन्चोक, थामी वक्ताहरू), नेवार (तेजरत्न कंसाकार, ज्योति तुलाधर, ओंकारेश्वर श्रेष्ठ), पहरी (बद्रीनाथ पहरी र राजेन्द्र पहरी बडिखेल, पहरी समाज), बलामी (शैलेन्द्र बलामी ओखरपौवा), चेपाङ (चेपाङ समाज), भुजेल (भुजेल समाज), मगर ढुट (हीरासिंह थापा दाङ, लोक बहादुर थापा स्याङ्जा, गैराखुँदी र लसर्घाका वक्ताहरू अनि मगर समाज), मगर खाम (तेजेन्द्र बुढा र ओंकार बुढा तकसेरा, कुमिर पुन र सुमित्रा बुढा कोल, मोहन रोका र भागिन्ता बुढा काँक्री, मोहनराज घर्ती र बलराम बुढा महट, सूर्य कुमारी बुढा खाराबाङ, जित्राजी बुढा मैकोट, वीर बहादुर घर्ती हुकाम, टीका कुमारी बुढा थापा कोर्चाबाङ, बल बहादुर घर्ती कोटगाउँ, बास्मती घर्ती र साङ्ली घर्ती घुस्बाङ र मगर समाज), राउटे (सूर्य नारायण शाही कल्याल, शेर बहादुर शाही रास्कोटी, चन्द्रमान शाही रास्कोटी), राजी (कालुसिंह राजी र पट्टौली राजी सोल्ता), व्यासी, टिंकर, सौका (कविता बुढाथोकी र दशरथी बुढाथोकी) ।
नेपालमा भोट बर्मेली भाषा दुई समूहका छन् । ‘हिमाली’ भाषाहरू ब्रह्मपुत्र बेँसीका भाषासँग शब्दावली र व्याकरणमा धेरै मिल्छन् भने अर्काथरी भाषाहरू चाहिँ ‘तिब्बत’ (भोट) का भाषासित बढ्ता मिल्छन् । तिब्बतीसँग मिल्ने भोट बर्मेली भाषालाई ‘भोटात्मक’ भाषा भन्न सकिन्छ । चाङहरू (२०१९ इ.) गरेको जाननिक अनुसन्धानका आधारमा सबै भोट चिनियाँ जातिहरूको पुर्ख्यौली थलो ह्वाङह नदीको बेँसी (सिआन्सी) हो । त्यहाँबाट केही दक्षिण तिर माचिच्याउ सभ्यतामा सहर विस्तार भए पछि भोट चिनियाँभाषीहरू विभिन्न दिशामा तितरबितर भए । सागार्टहरूले गरेको अनुसन्धान (२०१९ इ.) का आधारमा पाँच हाँगामा बाँडिएका भोट चिनियाँहरू मध्ये जुन हाँगो पश्चिम तिर लाग्यो, त्यही भाषा नै तिब्बती (भोटात्मक) हो । जुन हाँगो असम तिर लाग्यो त्यो चाहिँ हिमाली भाषा हो । मैले वर्णमाला बनाएका तिब्बती मूलका भाषा यी हुन् ः
भोट बर्मेली भोटात्मक शाखा ः
ह्लोमी (ह्लोमी समाज), शेर्पा (गेलु शेर्पा सोलु, मन्जु शेर्पा मार्बो), जिरेल (अमृत जिरेल बचोबारी), तामाङ (अमृत योन्जन), गुरुङ (रेम बहादुर गुरुङ स्याङ्जा, पोल क्रोम्छे सिक्लिस, तमु बौद्ध समाज काठमाडौँ, तमु छोँज धीँ पोखरा, रेम बहादुर गुरुङ), दुरा (मुक्तिनाथ घिमिरे), घले (काली घले बार्पाक), छन्त्याल (छन्त्याल समाज म्याग्दी), थकाली (कुल बहादुर गौचन कुन्जो र थकाली समाज), मार्फा थकाली (मार्फा थकाली समाज), मगर काइके (काइके समाज) ।

भारोपेली भाषा
भारोपेली भाषाहरू पनि नेपालमा दुई किसिमका छन् । एक किसिमका भारोपेली भाषाहरू नेपालका छैटौँ र सातौँ प्रदेश अनि भारतका उत्तराखण्ड, हिमाचल प्रदेश र कश्मीरका मातृभाषासँग मिल्छन् । इतिहासमा त्यस क्षेत्रलाई ‘खसान’ लेखिएको पाइन्छ (‘खस जातिको खास कुरो’, ‘अन्नपूर्ण पोस्ट’, ११ फागुन २०७५)। नेपाली भाषा पनि त्यसै मूलको भाषा हो । मैले वर्णमाला बनाएका खस मातृभाषा यी हुन् ः
भारोपेली खस मातृभाषा ः
नेपाली (माधव पोखरेल), सिजाली (सिँजा नगर पालिका), अछामी (हर्क बहादुर शाही), बैतडेली (चूडामणि पाण्डे स्याडी, नारायणी भट्ट), डोट्याली (आर.डी. प्रभास चटौत), दार्चुलेली (वासुदेव बिस्ट), डँडेल्धुरेली (मोहन भट्ट), चुरौटे, मियाँ (मुकमान अली र अमिना अली पाली, खगडी) ।
मैले वर्णमाला बनाएका खस बेगरका नेपालका भारोपेली आर्य भाषाको नामावली यहाँ छ । यी भाषा धेरैजसो तराईमा बोलिन्छन् । आर्य भाषाभाषीको पुर्ख्यौली र विस्तारका लागि मेरो लेख (‘नेपालमा आर्य गणको इतिहास’, ‘नयाँ पत्रिका’, २०७७ साउन ९) हेर्न सकिन्छ ।

अन्य भारोपेली भाषा
राजवंशी (दलसिंह राजवंशी ज्यामिरगढी, राजवंशी समाज र राष्ट्रिय भाषाहरू संस्था), मालपाँडे (भाषा सर्वेक्षण परियोजन), मगही (मगही समाज ढल्केबर), बज्जिका (बज्जिका समाज), भोजपुरी (गोपाल ठाकुर), दनुवार (दनुवार समाज), माझी (धन बहादुर माझी राकाथुम, फुलमाया माझी मन्थली, शान्ति माझी सित्खा र माझी समाज), दराई (नरवीर दराई र माया दराई पिपलटार तनहुँ, मान बहादुर दराई जगतपुर चितवन, सुक बहादुर दराई भादगाउँ तनहुँ), डङौरा थारू (डङौरा थारू वक्ता), राना थारू (आरटीआई), मारवाडी (भाषा सर्वेक्षण परियोजना), साद्री, सदनी (धनराज मुण्डा ज्यामिरगढी) ।
मैले वर्ण निर्धारण गरेका नेपालमा बोलिने आग्नेय र द्रविड परिवारका यी तीन ओटा हुन् ः

आग्नेय भाषा
सन्ताल (दुर्गा मर्डी सारोङ्पाडा, मैना मड्डी, गोपाल टुड्डु, दिलीप कुमार बस्की, तालामई मर्डी गरामनि र तोपगाछी), खडिया (बुधुवा इन्दुवार, खडिया टोल) ।
द्रविड भाषा
कुणुख, उराउँ, उरावँ, झाँगड, धाँगर (गुम्दौरान कुड्खान र परमेश्वर उराउँ, राजगन्ज सुनसरी) ।

कुसुन्डा भाषा
नेपालमा एउटा एकल भाषा छ कुसुन्डा । त्यो भाषा संसारको कुनै पनि अर्को भाषासित मिल्दैन । अहिले त्यो भाषा फरर्र बोल्ने एक जना वक्ता मात्र छिन् । यो भाषा पनि मैले वर्णमाला बनाएकै भाषामा पर्छ ।
कुसुन्डा (कमला खत्री र ज्ञानी मैयाँ सेन) ।
डेक्कन कलेज (पुणें विद्यापीठ) बाट १९८९ इ. मा ध्वनिविज्ञान र नेपाली भाषाको वर्ण व्याकरणमा ‘विद्यावाचस्पति’ उपाधिको अनुसन्धान पुरा गरेर नेपाल फर्के पछि मैले ध्वनि विश्लेषण, वर्ण विश्लेषण र वर्ण निर्धारण गरेर वर्णमाला बनाएको पहिलो भाषा लिम्बु हो । लिम्बु भाषा सिरिजंगा लिपिमा लेख्ने चलन हजसनका कागतमा सबभन्दा पहिलो फेला परेको हो । हजसनका कागतका आधारमा क्याम्बेलले बनाएको लिम्बु भाषाका वर्णको संख्यामा इमानसिंह चेम्जोङले देवनागरी वर्णमालासँग मिलाएकाले वर्णको संख्या ह्वात्तै बढेको पाइन्छ, त्यसैले बैरागी काइँलाले अद्यावधिक गर्न चाहेको इमानसिंह चेम्जोङको ‘लिम्बु नेपाली अंग्रेजी शब्दकोश’ का लागि आज प्रचलित चेम्जोङको ‘वर्णमाला’ मध्ये वर्ण वैज्ञानिक सिद्धान्तका आधारमा लिम्बु वर्ण चाहिँ कुन कुन हुन् भन्ने कुराको ठेगान लगाउने जिम्मा मैले पाएको थिएँ । काठमाडौँ, धुलाबारी र ताप्लेजुङ सम्म पुगेर सबै भाषिका बोल्ने लिम्बु वक्ता र विद्वानसित अन्तरक्रिया गरेर मैले बनाएको वर्णमालाका आधारमा एकेडेमीले प्रकाशित गरेको लिम्बु कोश छ ।
मातृभाषाका विभिन्न भाषिकाका वक्ताहरूसँगको सामूहिक छलफल आधारमा लिम्बु भाषाको वर्णमाला बनाए जस्तै गरेर मैले वर्णमाला बनाएका अरू मातृभाषा यी हुन् ः
सामूहिक छलफलका आधारमा ः
लुफ्मि, मेचे, लिम्बु, छथरे लिम्बु, राजवंशी, याक्खा, मारेक याक्खा, मेवाहाङ, लोरुङ, दुङ्माली, ह्लोमी, शेर्पा, साम्पाङ, चाम्लिङ, दुमी, बाहिङ, उम्बुले, सुनुवार, खालिङ, मगही, दनुवार, माझी, सुरेल, थामी, पहरी, तामाङ, बज्जिका, चेपाङ, गुरुङ, घले, भुजेल, मगर ढुट, दुरा, थकाली, मार्फा थकाली, छन्त्याल, डङौरा थारू, मगर खाम, राउटे, सिँजाली, मगर काइके, डोट्याली, राना थारू) ।
पाइकको विधि अनुसार र स्वाडेसको (आधारभूत शब्दावली) का आधारमा ः
हायु, जिरेल, मालपाँडे, उराउँ, खडिया, सन्ताल, साद्री, मारवाडी, थुलुङ, कुलुङ, कुसुन्डा, व्यासी, शेर्पा, नेवार ।
एमए र पिएचडीका विद्यार्थीलाई सिकाउँदा वक्ताहरूसँग अन्तर्वार्ता
गरेका आधारमा ः
नेपाली, धिमाल, प्याङगाउँले, बलामी, भोजपुरी, दराई, चुरौट्मेियाँ, राजी, अछामी, डँडेल्धुरेली, दार्चुलेली, बैतडेली ।

निष्कर्ष
यसरी मैले वर्ण विश्लेषण, वर्ण निर्धारण र वर्णमाला बनाएका मातृभाषाहरूको संख्या ६७ पुगे पनि केही रमाइला अनुभव भएका छन् । आज ‘गोरखापत्र’ ले ‘नयाँ नेपाल’ भन्ने स्तम्भमा पालो गरेर ३५–४० ओटा मातृभाषाका सामग्री प्रकाशित गर्छ । तिनीहरू मध्ये धेरै ओटा मातृभाषाको वर्णमाला मैले बनाई दिएको हो । त्यहाँ ठाउँ नपाएका केही मातृभाषाहरूमा लेखन कार्य अघि बढेकै छ भने, केही मातृभाषाका वक्ताले चाहिँ उनीहरूको भाषाको वर्णमाला प्रयोगै नगरेर गाईका फाँचामा दुध नसाँचिए जस्तो भएको छ । मैले सिकाएकै जस्तो गरी रिट्ठो नबिराई चलाउने मगर (ढुट) र माझी भएको मलाई थाहा छ । कुनै कुनै समुदायले एकदुई ओटा सुझाव चाहिँ नमाने जस्तो लाग्छ । लामो लेखन परम्परा भए पनि मेरा सुझाव प्रायजसो मान्नेमा लिम्बुहरू आउँछन् भने, लामो लेखन परम्परा हुने (नेवार, मैथिली, लाप्चा, आदि) धेरैले आफ्नो मातृभाषाको लेखाइ वर्ण वैज्ञानिक कसीमा कति खरो देखिन्छ, त्यो जँचाउन आवश्यक पनि ठानेका छैनन् । जुन जुन मातृभाषा अलिखित नै थिए, मैले वर्णमाला बनाए पछि ती मातृभाषाको लेखाइ जति वर्ण वैज्ञानिक भएको छ, त्यति वैज्ञानिक लामो लेखन परम्परा भएका भाषाहरूको वर्णमाला छैन । कहाँ सम्म भने, मेरै मातृभाषालाई चाहिँ मैले वैज्ञानिक बनाउन सकेको छैन ।
(लेखककै हिज्जेअनुसार)

शनिबार विशेष

साहित्यमा 'तिमी’, राजनीतिमा 'तपाईं’

- अभि सुवेदी

 

साहित्य र राजनीतिमा आदरार्थीको प्रयोग विषयमा भर्खरै एउटा छलफल भयो । साहित्यिक समालोचना र सृजनशील साहित्य लेख्ने व्यक्तिको नाताले केही दायित्व पूरा गर्न सानै भए पनि यो लेख लेखिएको छ ।
नेपाली भाषामा ‘तिमी’ र ‘तपाईं’ को प्रयोग विषयमा हामीले साहित्यका फाँटमा धेरै छलफल गरेनौं । तर, नेपाली साहित्यकारले साधारण छलफल गरेर वा नगरेरै पनि समालोचनाको भाषामा आदरार्थी, खासगरी ‘तिमी’ को प्रयोगमा धेरै ठूलो काम गरेका रहेछन् भन्ने पछि बोध भयो । तर साहित्यकार, अझ समालोचना लेख्नेले, जसमा आफैं पनि पर्छु, यस विषयमा खासै केही नलेखेको देख्दा केही असजिलो लागेको हो । व्याकरण र हिज्जेका छलफलमा निकै काम भए, हुँदै छन् । तर, नेपाली समालोचनामा नेपाली लेखकले कसरी ‘तिमी’ आदरार्थीको सहज प्रयोग गरे र त्यसलाई मानक बनाए, त्यस विषयमा लेखिनुपर्थ्यो, खासै लेखिएनछ । यो लेख त्यसै जानकारीको एउटा आरम्भसम्म हो ।
नेपालमा ‘तिमी’, ‘तपाईं’ वा ‘हजुर’ जस्ता आदरार्थीका प्रयोग राजनीतिक परिवर्तनसँग जोडिएका छन् । दुई प्रसङ्ग वाचाल छन्, जुन ठीक विपरीत छन् । छयालीस/सत्चालीस सालको राजनीतिक परिवर्तनपछिको पहिलो प्रसङ्ग छ । संवैधानिक राजा भएका वीरेन्द्रलाई भाषा प्रयोगमा केही असहजपना भएको थियो त्यसबेला । तर, उनले त्यसमा तुरुन्तै बानी बसाए, आफूलाई । घटना यस्तो थियो ः
नारायणहिटी राजदरबारमा गणेशमान सिंहसँग कुरा गरिरहँदा राजा वीरेन्द्रले उनले सिकेको राजाले प्रयोग गर्ने आदरार्थी कोडअन्तर्गत गणेशमानलाई ‘तिमी’ भनेर सम्बोधन गरे । नेता गणेशमानले राजालाई सिकाउँदै भने– यसरी आफ्ना हजुरबासँग काम गरेका र अरू राजनेताहरूलाई सरकारले ‘तिमी’ भन्नुहुँदैन, सम्मान गरेर बोल्नुपर्छ । सिंहले हामीलाई सुनाएको कुराबाट मैले सार राखेको हुँ । भनिन्छ, राजा वीरेन्द्रले त्यही दिनदेखि लगभग ‘तिमी’ भन्ने आदरार्थी कोडको प्रयोग गरेनन् । राजालाई जनताका नेताले ‘तपाईं’ भन्नु भनेर सिकाएपछि परिवर्तन भएको उदाहरण हो यो ।
दोस्रो उदाहरण धेरै वाचाल छ । राजनीतिक परिवर्तनपछि, अझ नेपाल गणतन्त्र भएपछि, राजनेता र शक्तिमा आसीनहरू बदलिए । राजनीतिक परिवर्तनले स्वाभाविक रूपमा राजनेताहरू धेरै निकाल्ने नै भयो । त्यसमा कमिनिस्ट नेताहरूको बाहुल्य रह्यो । त्यसो त नेपाली कांग्रेसका नेता पनि थिए । तर, राजनीतिक परिवर्तन भएर दलका नेता सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि उनीहरूमा एउटा ‘हाइरार्की’ को चेतना पलायो । नेपालको ठूलो मिडिया हाउस र त्यसबाट निस्केको अखबार ‘कान्तिपुर’ सबैभन्दा चर्चामा आयो । कारण उही आदरार्थी ‘तिमी’ र ‘तपार्इं’ं को प्रयोग थियो । लामो छलफल नगरौं । त्यो २०७४ सालतिरको कुरा हो । ‘कान्तिपुर’ ले सबैलाई ‘तिमी’ कोड प्रयोग गर्ने सम्पादकीय भाषिक नीति नै बनाएको रहेछ । यो विषय त्यसबेलाका भाषा सम्पादक अखण्ड भण्डारीले लेखेको ‘कान्तिपुरले किन सबैलाई तिमी भन्छ ?’ (फागुन ७, २०७४) भन्ने लेखमा छ । तर, त्यति मात्र होइन, राष्ट्र प्रमुख वीरेन्द्रलाई नेता गणेशमान सिंहले भनेको ठीक उल्टो सरकार प्रमुख अथवा प्रधानमन्त्री केपी ओलीले ‘कान्तिपुर’ लाई ‘तिमी’ कोड प्रयोग गरेकोमा गुनासो गरेछन् । अखण्डले लेखेका छन्, ‘ओलीले गुनासो गरे, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तिहरूलाई तिमी भन्ने अधिकार कान्तिपुरलाई कसले दियो ? कान्तिपुरले चाहिं अरूलाई आदर गर्नुपर्दैन ? सबैभन्दा ठूलो हो कान्तिपुर ?’
यो विषय निकै चल्दै छ भन्ने देखिन्छ किनभने ९ माघ २०७७ मा ‘कान्तिपुर अनलाइन’ ले त्यही लेख फेरि छाप्यो । कुरा चाखलाग्दो हो । राजा वीरेन्द्रले ‘तिमी’ छोडेर ‘तपाईं’ प्रयोग गरे, तर ‘कान्तिपुर’ ले ‘तपाईं’ प्रयोग नगरेर ‘तिमी’ कोडलाई नै मानक बनायो, जुन लोकतन्त्रसम्मत थियो । एउटा भाषाकर्मी, साहित्यकार र प्राज्ञिक कर्म गर्ने मानिसको नाताले भन्छु, सबै स्वतन्त्र मिडियामा ‘तिमी’ प्रयोगको विषय सहज, स्वाभाविक र प्रजातान्त्रिक चेतनाजनिन थियो र छ । यस विषयलाई शक्ति र प्रतिष्ठासँग जोडेर सरकारका नेता र तिनका सल्लाहकारले लिएको कुरा सही छैन । गणेशमानले राजालाई ‘तपाईं’ भन्न सिकाउनु र अर्का नेता ओलीले पत्रकारलाई ‘तपार्इं’ं भन्न सिकाउनुजस्ता उदाहरणले भित्री कुरा बोल्छन् । लोकतान्त्रिक नेताहरूले खुला मनले सिक्नुपर्छ ।
शक्तिमा आसीनले ‘तिमी’ को स्वाभाविक प्रयोगलाई यसरी संवेदनशील भएर लिनुको प्रस्ट कारण यस्तो हुन सक्छ । भाषा प्रयोगका स्वाभाविक विषयलाई शक्ति, प्रतिष्ठा र राजनीतिसँग जोडिनुको पछि एउटा शक्ति–मनोविज्ञानको ग्रन्थिले काम गरेको हुन सक्छ । त्यो गम्भीर विषय हो । ‘तिमी’ को प्रयोग नेपाली भाषामा सहज, सृजनशील, सम्मानजनक र प्रजातान्त्रिक रूपमा आएको देखिन्छ । त्यस विषयमा शक्तिमा आसीन र तिनका सल्लाहकारलाई ज्ञान भएको देखिएन । त्यसो त साहित्यमा यो कसरी एउटा सम्मानजनक र स्वाभाविक प्रयोग भएर आएको छ भन्ने विषय साहित्यकारले पनि छलफल–जानकारीमा ल्याएनौं । साहित्यमा ‘तिमी’ को कसरी स्वाभाविक, स्वतन्त्र अनि सम्मानजनक प्रयोग र थोरै भए पनि छलफल भएको छ, हेर्नुपर्छ । एउटा संस्मरणबाट विषयमा पस्न चाहन्छु । नेपाल भाषाशास्त्र समाजको २६ नोभेम्बर १९९१ मा भएको बाह्रौं वार्षिक सम्मेलनमा अध्यक्षको भाषणमा मैले सन् १९९० को भर्खरै भएको राजनीतिक परिवर्तनपछि पनि राजनेताहरूमा पञ्चायतकालको शक्ति र ‘हाइरार्की’ को भाषाको मोहले काम गरिरहेका उदाहरण राखेर यसलाई प्रजातन्त्रसँगै परिवर्तन हुन नसकेको मनोग्रन्थि भनेको थिएँ । सोआसका प्राध्यापक माइकल हट्ले उनको किताब ‘नेपाल इन् द नाइन्टिज्’ (१९९४ः८८) मा त्यही परिवर्तन हुन नसकेको मनोग्रन्थिबारे मेरो कुरालाई उद्धरण गरेका छन् । आज आएर हेर्दा प्रजातान्त्रिक संस्कारका निम्ति शक्तिका सपना बाधक भएको विषय प्रस्ट हुँदै गएको देखिन्छ ।
अर्को विस्तृत लेखको विषय हो, तर यहाँ केही शब्दमा भन्दा नेपाली साहित्यकारले ‘तिमी’ को प्रयोग अत्यन्त सहज र सृजनशील किसिमले गरे । समालोचकले मविवि शाह नामधारी राजा महेन्द्रका कविता, खासगरी ‘उसैको लागि’ का छलफलमा ‘तिमी’ प्रयोग गरेका उदाहरण छन् । समालोचकले ‘तिमी’ कोडलाई सहज बनाउनुपर्छ र प्रयोग गर्नुपर्छ भन्ने मौन सिद्धान्त बनाए । उनीहरू पाका र सम्मानजनक लेखकलाई पनि ‘तिमी’ कोड प्रयोग गरेर लेख्छन् । प्रायजसो समालोचनामा मैले ‘तिमी’ कोड प्रयोग गरेर लेखें, अहिले पनि लेख्छु । यदुनाथ खनाल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, इन्द्रबहादुर राई, खगेन्द्र संग्रौला, ताराकान्त पाण्डे आदि हिजो र आजका समालोचकले ‘तिमी’ कोडको प्रयोग गरेर लेखेका छन् । त्रिवि नेपाली विभागका प्राध्यापक समालोचकहरू ‘तिमी’ कोड प्रयोग गरेर लेख्छन् । एकाध अपवाद छन् । ‘तपाईं’ लेखिएका केही समालोचना पनि छन् । तर, ती अब पुराना भइसके । साहित्यिक समालोचनामा नितान्त ‘तिमी’ कोड प्रयोग गर्ने पद्धति बसेको छ । त्यो मानक भएको छ र सहज अभिव्यक्तिको आधार भएको छ ।
हामी साहित्य लेख्नेले कुनै राजनेतालाई ‘तिमी’ कोड प्रयोग गरेर लेख्यौं भने त्यसमा हाम्रो राजनीतिक सरकोर छ कि भनेर हेर्ने आवश्यकतै हुँदैन । ‘तिमी’ कोड प्रयोग नगरी अब नेपाली समालोचना लेखिँंदैन । नेपाली साहित्य लेखन, खासगरी समालोचनाले जसरी ‘तिमी’ कोड प्रयोग सहज रूपले गर्छ, त्यो अहिलेका राजनीतिकर्मी र नेताका निम्ति अनुकरणीय विषय हो । ‘तपाईं’ लेख्ने भाषिक ‘रजिस्टर’ हरूमा त्यो आदरार्थीको प्रयोग भइहाल्छ । साहित्य र मिडियाले ‘तिमी’ प्रयोग गर्नु सहज र समयसम्मत प्रक्रिया हो ।
आदरार्थी वा ‘हाइरार्की’ मनोग्रन्थिले चिन्तित राजनीतिज्ञ र सरकारी नेताले यो पिरोलोबाट सिक्नुपर्छ र आफैंलाई प्रश्न गर्नुपर्छ, कतै म वा हामीभित्र शक्तिलोलुपताको जन्म भएको त होइन ? साहित्यमा हामीलाई चिन्ता छैन किनभने हामी समान, सृजनशील र स्वतन्त्र छौं । हामी ‘तिमी’ बाट सम्मानित छौं र त्यसैबाट सम्मान गर्छौं ।

 

Page 6
प्रदेश ३

जडीबुटी–साँगा सडकमा ६४ सीसीटीभी क्यामेरा

- कान्तिपुर संवाददाता


भक्तपुर (कास)– महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि साँगासम्मको करिब
१३ किलोमिटर सडकमा ६४ वटा सीसीटीभी क्यामेरा जडान गरेको छ ।
सीसीटीभी जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिका अनुसार सूर्यविनायक नगरपालिकाबाट १० लाख र बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायीलगायतबाट गरी ८१ लाख २० हजार रुपैयाँ संकलन भएको थियो । जसमध्ये सीसीटीभी क्यामेरालगायत प्राविधिक सामग्री खरिद तथा जडानका लागि करिब ६२ लाख रुपैयाँ खर्च भएको उनले बताए । बाँकी रकम जिल्लाका च्याम्हासिंह, कमलविनायक बसपार्कलगायत स्थानमा सीसीक्यामेरा जडान गरिने उनले जानकारी दिए ।

प्रदेश ३

बाढीपहिरोको विध्वंस

- कान्तिपुर संवाददाता

बुधबार र बिहीबारको वर्षापछि आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति पुर्‍याएको छ । कतै पुल भत्काएको छ त कतै उद्योग, होटल तथा आवासीय क्षेत्रमा बाढी पसेको छ । मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलामा ५ वर्षदेखि निर्माणाधीन पुल बिहीबार रातिको बाढीले बगाएको छ ।
मकवानपुरगढी–५ र ३ जोड्ने उक्त पुल वाग्मती प्रदेश सरकारको लगानीमा बन्दै थियो । एक वर्षभित्रै सक्ने गरी २०७३ मा ठेक्का दिइए पनि ठेकेदारको लापरबाहीका कारण पुल निर्माणले गति लिन सकेको थिएन । जसका कारण स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेका थिए । निर्माणाधीन पुल नै बगाएपछि अब फेरि पुल बन्छ भन्ने आस मरेको स्थानीय रामजी सापकोटाले बताए ।
मकवानपुरकै आमभन्ज्याङस्थित सिमलटारस्थित फलामे पुल पनि बिहीबार रातिको बाढीले बगाएको छ । राक्सिराङ गाउँपालिका–६ का रमेश चेपाङले चराउन चितवन खैरहनी लगेका ८० घार मौरी लदरी खोलाको बाढीले बगाएको छ । गोलासहितको घार बगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको चेपाङले बताए ।
यता, धादिङको बेनीघाट रोराङ–२ ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योग निर्माणस्थलमा मलेखु खोलाको बाढी पसेको छ । बाढीले निर्माणाधीन संरचनामा क्षति पुग्नुका साथै निर्माण सामग्री बगाएको छ । उद्योगमा कार्यरत चिनियाँ मजदुर बस्ने आवासमा पनि बाढी पसेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उद्योगका स्थानीय व्यवस्थापक तुलसी थापाले बताए । सोही स्थानमा सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अन्य २ होटलमा पनि बाढी पसेको छ ।
त्रिशूली नदीको बाढीले गजुरी गाउँपालिका–५ घाटबेंसीनजिकै निर्माणाधीन मोटरेबल पुलमुनि रोकिराखेको एक्स्काभेटर बगाएको छ । बेनीघाट रोराङको मलेखु खोला, गल्छीको महेशखोला, थाक्रेको आग्राखोला, धादिङबेंसीको थोपला खोलामा शुक्रबार दिनभर पानीको बहाव बढ्दो रह्यो ।
यसैगरी, रामेछापको दुधौली नगरपालिका–१ स्थित बंकाखोला र वडा–२ को खारखोलामा आएको बाढीले आसपासका बस्ती डुबानमा परेका छन् । जसका कारण स्थानीयको घरमा रहेका खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री नष्ट भएको नगर प्रमुख घनश्याम राउतले बताए । उनका अनुसार दुधौली–१२ जिनाखुमा पहिरोले ५ सय कुखुरासहितको फार्म बगाएको छ । कमला नदी तथा अन्य खहरेमा पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
मरिण खोलाले मरिण गाउँपालिका–५ कोवडी मुहानमा दुई बिघा जमिन कटान गरेको छ । सोही वडाको घाटामा रहेको ऐतिहासिक पञ्चकन्या पोखरी जोखिममा परेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए ।

सुवास बिडारी (मकवानपुर), हरिहरसिंह राठौर (धादिङ) र राजकुमार कार्की (सिन्धुली)

Page 7
अर्थ वाणिज्य

कर्जा उपयोगमा ठूला ऋणीकै वर्चस्व

- यज्ञ बञ्जाडे

(काठमाडौं) - बैक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा उपयोगमा ठूला ऋणीकै वर्चस्व देखिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये करिब ९० प्रतिशत रकम ३८ प्रतिशत ऋणीले उपयोग गर्दै आएका छन् । बाँकी ६३ प्रतिशत ऋणीले प्रवाहित कर्जामध्ये १० प्रतिशत मात्रै उपयोग गरिरहेको राष्ट्र बैंकको तथ्यांक छ ।
राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले ३९ खर्ब ८ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन् । उक्त ऋण १५ लाख ९९ हजार ९ सय १६ ऋणीले उपयोग गरेको देखिन्छ । तीमध्ये १० लाख रुपैयाँभन्दा कम ऋण लिनेको संख्या करिब ६३ प्रतिशत छ । यी ऋणीले लिएको ऋण रकम बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको करिब १० प्रतिशत मात्र हो ।
बैंक तथा वित्तीय संस्थामा पहुँच कम हुनु, बैंकले ब्याजदर महँगो लगाउनु, प्रक्रियागत झन्झट हुनुलगायत कारण साना ऋणीहरूमा बैंकिङ कारोबारमा बानी परिनसकेको एक बैंकरले बताए । ‘धन्न ६३ प्रतिशत संख्या त पुगेको रहेछ १० लाखभन्दा कम कर्जा लिने ऋणीको । उनीहरूलाई बैंकमा सजिलो छैन । जति ठूला र पहुँचवालाले पाउँछन्,’ ती बैंकरले भने, ‘बैंकले ठूला ऋणीलाई गर्ने व्यवहार नै फरक हुन्छ । उनीहरूलाई दिने सेवाको गुणस्तर, ऋण स्वीकृतिका लागि लाग्ने समय, ब्याजदरलगायत सबै विशेष हुन्छ । जुन साना ऋणीको हकमा लागू हुँदैन ।’
कुल कर्जा प्रवाहको कम्तीमा ५ प्रतिशत विपन्न वर्गलाई प्रवाह गर्नुपर्ने, पुनर्कर्जा, ब्याज अनुदानको सहुलियत कर्जालगायतमा साना ऋणीलाई प्राथमिकता दिइएकाले यो संख्या धेरै देखिएको ती अधिकारीको भनाइ छ । ‘सानो परिमाणको ऋण प्रवाह गर्नुभन्दा एकै पटक ठूलो ऋण प्रवाह गर्दा बैंकलाई फाइदा हुन्छ,’ उनले भने, ‘अहिले त बाध्य भएर गरेका मात्र हुन् ।’
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा ठूला र साना ऋणीको सन्तुलन मिलेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको दाबी छ । ‘हामीलाई ठूला–साना दुवै खाले ऋणी चाहिन्छ,’ उनले भने, ‘सानालाई मात्र प्राथमिकता दिँदा ठूलो लगानी चाहिने आयोजना छुट्छन् र ठूलालाई प्राथमिकता दिँदा साना तथा घरेलु गतिविधि छुट्छन् ।’ संख्याका रूपमा साना ऋणीको धेरै हिस्सा र रकम उपयोगका हिसाबले ठूलाले बढी हिस्सा ओगटेकाले कर्जा प्रवाहमा सन्तुलन मिलेको उनको तर्क छ । साना ऋणीलाई प्राथमिकता दिन, उनीहरूलाई बैंकिङ प्रणालीमा जोडेर बैंकिङ बानीको विकास गराउन राष्ट्र बैंकले विभिन्न नीति तर्जुमा गरेको र सोहीअनुरूप बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिरहेको उनले बताए ।
गत वैशाखसम्म बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) मा ३ करोड ३६ लाख वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याको करिब १ सय १० प्रतिशत हो । केन्द्रीय तथ्यांक विभागका अनुसार हाल नेपालको कुल जनसंख्या करिब ३ करोड ३ लाख पुगेको अनुमान छ । यही संख्याको तुलनामा निक्षेप खाताको संख्या जनसंख्याभन्दा धेरै देखिएको हो । जनसंख्याभन्दा धेरै बैंक खाताको अर्थ सबै नेपालीको बैंक खाता भन्ने होइन । नेपालमा एउटा व्यक्तिले एकभन्दा धेरै बैंक तथा वित्तीय संस्थामा पनि खाता खोल्न पाउँछ । यही कारण यस्तो अवस्था आएको हो ।
हालसम्म खुलेका खाता संख्यामध्ये पुरुषका नाममा खोलिएका खाता ४८ प्रतिशत र महिलाको नाममा खोलिएका खाता संख्या
३४ प्रतिशत छ । यसले पनि बैंकिङ प्रणालीमा महिलाको सहभागिता कम रहेको देखाउँछ ।
बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको तुलनामा कर्जा खाताको अनुपात करिब ५ प्रतिशत मात्र छ । यसले निक्षेपकर्ता र ऋणीबीच सन्तुलन नमिलेको देखिने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘हामीसँग कर्जा लिनेको संख्या धेरै कम भयो,’ उनले भने, ‘अब बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्नका लागि नागरिकलाई प्रोत्साहन गरिनुपर्छ ।’ कर्जाको माग नभएरभन्दा पनि बैंकिङ बानी, सहज पहुँच र प्रक्रियागत कठिनाइकै कारण साना ऋणीहरू बैंकसम्म पुग्न नसकेको जानकारहरू बताउँछन् । अहिले ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० मा वाणिज्य बैंकका शाखा पुगिसकेकाले दूरदराजमा पनि वित्तीय पहुँच विस्तार हुने उनीहरूको दाबी छ ।
नेपालको कुल जनसंख्याको करिब ६१ प्रतिशतले बैंक खाता खोलेका छन् । दुई वर्षअघि राष्ट्र बैंकले गरेको वित्तीय पहुँच स्थिति अध्ययनले उक्त कुरा देखाएको हो ।
प्रतिवेदनले कुल जनसंख्याको ६०.९ प्रतिशतमा वित्तीय पहुँच पुगेको देखाएको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्ने अध्ययनमा उल्लेख छ । त्यसपछि राम्रोसँग
वित्तीय विस्तार भएकाले यसमा पहुँच अझै बढेको हुन सक्ने जानकारहरू बताउँछन् ।
२०७८ वैशाखसम्म कुल बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ३८ छ । यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ५ सय ९८ पुगेको छ । २०७७ असारमा यस्तो संख्या ९ हजार ७ सय ६५ थियो ।

 

अर्थ वाणिज्य

निजी आवास पुनर्निर्माण ६ वर्षमा ७५ प्रतिशत मात्रै

- कान्तिपुर संवाददाता

(काठमाडौं) - भूकम्प गएको ६ वर्षमा निजी आवास पुनर्निर्माण बल्ल ७४.६८ प्रतिशत सकिएको छ । पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख ५८ हजार २ सय ८२ रहे पनि ८ लाख १८ हजार ६ सय २४ जनाले मात्र अनुदान सम्झौता गरेका छन् । यसमा ६ लाख ११ लाख २ सय ४१ जनाले पुनर्निर्माण सकेका छन् । २ लाख ७ हजार ३ सय ८३ घर अझै बनेका छैनन् । ३९ हजार ६ सय ५८ जनाले अनुदान सम्झौता पनि गरेका छैनन् ।
अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने ८ लाख १६ हजार ६ सय ७० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ । यो ९९.७६ प्रतिशत हो । दोस्रो किस्ता लिने ७ लाख २७ हजार ३ सय २८ र तेस्रो किस्ता लिने ६ लाख ६५ हजार २ सय ३३ छन् । तेस्रो किस्ता लिने भने कम छन् । पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या १ लाख ४६ हजार १ सय ५३ छ । यो अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो । घर पुनर्निर्माण सुरु गरेका लाभग्राहीको संख्या ७ लाख ५७ हजार ३ सय ९४ पुगेको छ । यो अनुदान सम्झौता गरेकामध्ये ९२.५३ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
प्रबलीकरण लाभग्राहीमध्ये पुनर्निर्माण लाभग्राहीमा परिवर्तन भएपछिको संख्या ५३ हजार ९ सय ५८ कायम भएको छ । यसमध्ये ४५ हजार ८ सय १४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ४५ हजार ७ सय ८१ ले पहिलो किस्ता लिइसकेको प्राधिकरणको तथ्यांक छ । अनुदान सम्झौता नगर्नेमा उपत्यकाका बढी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । ‘यहाँ अंशको विषय र थोरै जग्गा भएकाले पनि समस्या भएको छ,’ उनले भने, ‘उपत्यकाबाहिर पनि अनुदान सम्झौता नगर्नेको संख्या छिटफुट छ ।’ अहिलेसम्म अनुदान सम्झौता नगर्नेलाई समय दिइएकाले उक्त संख्यामध्ये १५ प्रतिशतले घर बनाउने अपेक्षा रहेको घिमिरेको भनाइ छ । घर बनाएकाहरू पनि साँघुरो भएको भन्दै सबै परिवार एउटै घरमा बस्ने गरेका छैनन् । केही लाभग्राही अझै जोखिमयुक्त घरमै बसिरहेका छन् । प्राधिकरणको कार्यकारी समिति बैठकले विविध कारणवश अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ । समितिको बैठकले बिहीबार पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा निवेदन दिन अनुरोध गरेको छ । ‘कोभिडका कारण गरिएको निषेधाज्ञाले समस्या भयो,’ घिमिरेले भने, ‘जसले गर्दा नियमित पुनर्निर्माणको काम हुन सकेन ।’ कात्तिक मसान्तसम्म ९८ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सक्ने लक्ष्य छ । निजी आवासमा प्रगति देखिए पनि सांस्कृतिक सम्पदा, विद्यालयका कक्षा कोठालगायतको पुनर्निर्माणमा भने प्रगति कम छ । ‘अहिले निषेधाज्ञा खुकुलो भएपछि पुनर्निर्माणको काम अघि बढेको छ,’ घिमिरेले भने, ‘असारभित्र सकेसम्म बढी अनुदान लिन लाभग्राहीलाई आग्रह पनि गर्छौं ।’ विविध कारणवश हालसम्म जग्गा खरिद र पुनर्निर्माण नसकेका भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिद गरिसक्न कार्यकारी समितिले आग्रहसमेत गरेको छ ।
यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म किस्ता लिने गरी घर बनाइसक्नुपर्नेछ । यसअघि गत असार १० मा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समिति बैठकले कात्तिक मसान्त सम्मलाई निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण
गरेको थियो ।

अर्थ वाणिज्य

‘सामाजिक सुरक्षामा जाँदा सुविधा घटाउन पाइन्न’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफूहरूले खाइपाइ आएको सुविधा घट्छ भन्ने बैंकिङ क्षेत्रका कर्मचारीको दाबीलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले खण्डन गर्दै बैंक व्यवस्थापनले कर्मचारीमा भ्रम छरिदिएको बताएको छ । खाइपाइ आएको सुविधा घटाउन नपाउने गरी कानुनी व्यवस्था गरेर मात्र कोष कार्यान्वयनमा आएको जिफन्टको भनाइ छ ।
सनराइज र ग्लोबल आईएमई बैंकमा काम गर्ने कर्मचारीको मृत्यु भएपछि नियमानुसार क्षतिपूर्ति दिन कोषले पत्र पठाएपछि त्यसविरुद्ध बैंकहरू एकजुट भई कर्मचारीहरूलाई कोषविरुद्ध गलत सूचना दिइएको जिफन्टको दाबी छ । ‘अहिले आन्दोलन गर्नुपर्ने कारण नै थिएन । जब रोजगारदाताले बेइमान गर्‍यो, हामीले कारबाही गर्न दबाब दियौं,’ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘कोषमा जाँदा खाइपाई आएको सुविधा घट्छ भनेर व्यवस्थापनले कर्मचारीलाई भ्रममा पर्ने काम गरे । त्यही भुलभुलैयामा कर्मचारी परे ।’ बैंकिङ क्षेत्रमा आबद्ध केही युनियन १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । यसअघि कोषले पनि खाइपाइ आएको सुविधा कटौती गर्न नपाइने जनाएको थियो । ‘श्रम ऐनको दफा ५२ र ५३ ले प्रदान गरेको सञ्चय कोष र उपदानलाई कोषमै जम्मा गर्नुपर्ने व्यवस्था छ । श्रम ऐनको दफा १७८ को उपदफा ३
र दफा ३४ को उपदफा ३ ले खाइपाई आएको घटाउन मिल्दैन,’ उनले भने ।
श्रम ऐनमा व्यवस्था गरेभन्दा बढी उपदान दिइराखेका संस्थाले थप उपदान श्रमिकले नै पाउने गरी आवश्यक व्यवस्था गर्नुपर्ने गरी श्रम नियमावली २०७५ को नियम २३ को उपनियम ४ ले समेत स्पष्ट गरेको जिफन्टले बताएको छ ।

 

अर्थ वाणिज्य

एनसेललाई दोस्रोपटक स्पष्टीकरण

- कान्तिपुर संवाददाता

(काठमाडौं) - स्वीकृति नै नलिई विभिन्न प्याक तथा सेवाको स्वतः नवीकरण गरी सवा अर्ब रुपैयाँ ठगी गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले दूरसञ्चार सेवा प्रदायक एनसेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति बैठकले सोमबार दूरसञ्चार ऐनको दफा ४७ बमोजिम किन कारबाही नगर्ने भन्दै एनसेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
एनसेलले ग्राहकबाट विभिन्न प्याक तथा सेवाको कानुनविपरीत स्वतः नवीकरण गरी दुई वर्ष अवधिमा १ अर्ब १४ करोड रुपैयाँ असुल गरेको भन्दै समितिको निर्णयअनुसार बिहीबार प्राधिकरण व्यवस्थापनले एनसेललाई स्पष्टीकरण पत्र पठाएको छ । ‘बोर्डको निर्णयबमोजिम स्पष्टीकरण पत्र पठाइएको हो,’ प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘एनसेलबाट स्पष्टीकरणको जवाफ आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’ एनसेलले ग्राहकको स्वीकृतिबिनै स्वतः नवीकरण गरी सवा अर्ब रुपैयाँ ठगी गरेको आरोपमा प्राधिकरणले सोधेको यो दोस्रो स्पष्टीकरण हो । यसअघि गत भदौ १९ मा पनि प्राधिकरण व्यवस्थापनले एनसेललाई यसबारे स्पष्टीकरण सोधेको थियो । एनसेलले स्वीकृतिबिनै प्याक र विभिन्न सेवा स्वतः नवीकरण गर्ने गरेको उजुरीपछि प्राधिकरणले छानबिन गरेको थियो । उक्त छानबिनपछि प्राधिकरण व्यवस्थापनले एनसेललाई स्पष्टीकरण सोध्दै स्वतः नवीकरण गरिएका ग्राहकको विवरण मागेको थियो । एनसेलले ८ महिनासम्म स्वतः नवीकरण गरिएका ग्राहकको विवरण बुझाएपछि प्राधिकरणले यो प्रकरणमा थप छानबिन गरी निर्णयका लागि प्रतिवेदन सञ्चालक समितिमा पेस गरेको हो ।
‘प्राधिकरणको २०७५ असोज १४ को निर्णयअनुसार भ्यालु एडेड सर्भिसको अटो रिन्यु बन्द गर्न दिएको निर्देशन, विद्युतीय वस्तु तथा सेवा खरिदसम्बन्धी कार्यविधि २०७६ को नियम ४ को व्यवस्थाविपरीत उक्त सेवाहरू अटो रिन्यु गर्नेजस्ता कार्य प्राधिकरणबाट जारी गरिएको अनुमतिपत्रको सर्तविपरीतको कार्य देखिन आएकाले एनसेल आजियटालाई पेस आएको प्रस्तावअनुसार दूरसञ्चार ऐनको दफा ४७ बमोजिमको दण्ड सजाय किन नगर्ने भनी १५ दिनभित्र स्पष्टीकरण माग गरी पेस गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरियो,’ समितिको सोमबार बसेको बैठकको निर्णयमा भनिएको छ ।
दूरसञ्चार ऐनको दफा ४७ को दफा १ मा नियम उल्लंघन गरे वा प्राधिकरणले दिएको आदेश वा निर्देशन पालना नगरे त्यस्ता व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र त्यस्तो कसुरबाट कसैको हानिनोक्सानी भएको रहेछ भने त्यसको बिगोबापत वा सोबापत् क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था छ । ‘हामीले अनुसन्धान गरी सेवा स्वतः नवीकरण नगर्न दिएको निर्देशनसमेत पालना नगरेकाले योपटक बिगो जरिवाना गराउने प्रक्रियामा गएका छौं,’ समितिका एक सदस्यले भने, ‘एनसेलबाट चित्तबुझ्दो जवाफ नआए बिगो जरिवाना गराउनेछौं ।’
प्राधिकरणले गरेको अध्ययनमा एनसेलले २०७५ जेठदेखि २०७७ वैशाखसम्ममा हुवावे गेम्स कन्टेन्ट, बिजनेस ह्यान्डलिङ फी, गेमलफ्टजस्ता सेवाको महसुल दर स्वीकृत नगराई प्राधिकरणको निर्देशनविपरीत स्वतः नवीकरण गरी महसुल असुलेको देखिन्छ । जसअनुसार ग्राहकबाट १ अर्ब २ करोड २ लाख ८९ हजार रुपैयाँ असुल गरेको देखिएको छ । एनसेलले गेमलफ्ट शीर्षकमा मात्रै १२ करोड १ लाख रुपैयाँभन्दा बढी थप महसुल संकलन गरेको पनि अध्ययनको निष्कर्ष छ ।

अर्थ वाणिज्य

निर्वाचनलाई ७ अर्ब ७२ करोडको सहमति

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ । यो रकम निर्वाचन सामग्रीलगायत खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । आगामी कात्तिक २६ मा पहिलो र मंसिर ३ मा दोस्रो गरी दुई चरणमा हुने निर्वाचनका लागि आवश्यक रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताइएको छ ।

Page 8
खेलकुद

स्पेन सेमिफाइनलमा

- कान्तिपुर संवाददाता

 

एएफपी (सेन्ट पिटर्सबर्ग) - तीन पल्टको च्याम्पियन स्पेनले स्विटरल्यान्डमाथि टाइब्रेकरमा नाटाकीय ३–१ ले पराजित गर्दै युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको थियो । अनुभवी स्पेन टाइब्रेकरको सुरुआतमा पछाडि रहेर पनि प्रभावशाली जित निकाल्न सफल भएको हो ।
दस खेलाडीमा सीमित स्विटजरल्यान्डले स्पेनमाथि बलियो चुनौती पेस गरेपछि अन्त्यमा भाग्य पूर्व विजेता टिमकै पक्षमा रह्यो । स्पेनका लागि मिकेल आयारजबले पेनाल्टीबाट निर्णायक गोल गरे । त्यस अगाडि ड्यानिएल ओल्मो र जेरार्ड मोरेनोले गोल गरे । कप्तान सर्जियो बुस्क्वेट्सको प्रहार पोस्टमा लागेर फर्केको थियो भने रोडरीको प्रहार स्विस गोलरक्षक याम सोमरले बचाए ।
स्विटरल्यान्डका लागि मारियो गाभरनोभिचले मात्र गोल गरे । यो टिमका लागि पहिलो प्रहार थियो । त्यसपछि फाबिन स्लर, म्यानुएल अकान्जी र रुबेन भेरगास तीनै जाको प्रहार गोल हुन सकेन् । यस अगाडि विश्व वरीयताको छैटौं स्थानमा रहेको स्पेनले अन्तिम १६ को खेलमा पनि क्रोएसियालाई अतिरिक्त समयमै पराजित गरेको थियो ।
स्पेनले आत्मघाती गोलको मदतले अग्रता लिएको थियो । स्पेनले कर्नरमा सिर्जना गरेको अवसरमा जोर्ड अल्बाको प्रहार डेनिस जकिरीको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । रेफ्रीले यसलाई आत्मघाती गोलको निर्णय दिए र यो प्रतियागिताको दसौं आत्मघाती गोल
रह्यो । लिभरपुलका खेलाडी जार्डन सकिरीले ६८ औं मिनेटमा बराबरी गोल फर्काए । स्पेनी रक्षापंक्तिले फुत्काएको बलमा रेमो फ्रेलरले फास मिलाए र त्यसमै सकिरीले गोल गरे ।

 

खेलकुद

युत्रेनविरुद्ध इंग्ल्यान्ड बलियो

- कान्तिपुर संवाददाता


रोम (एएफपी)– इंग्ल्यान्डले जर्मनविरुद्ध सन् १९६६ यता पहिलो पल्ट त्यो काम गरेर देखायो, जसका लागि पुस्तापछि पुस्ताका इंग्लिस खेलाडीले प्रयास गरेका थिए, तर सकिरहेका थिएनन् । युरो २०२० मा इंग्ल्यान्डका लागि सबैभन्दा ठूलो उपलब्धी जर्मनलाई हराउनु रहनेछ, धेरै समयपछिसम्म पनि ।
आफ्नो खास पारम्परिक प्रतिद्वन्द्वीलाई इंग्ल्यान्डले नकआउट चरणमा हराएर इंग्ल्यान्ड क्वाटरफाइनल पुगेको छ र यहाँनिर उसको विफक्षी टिम रहेको छ, युत्रेन । इंग्ल्यान्डले शनिबार एक फ्रकारले अन्डर डग रहेको युत्रेनको सामना गर्दा जितका लागि यही टिम बलियो प्रत्यासी रहनेछ । जर्मनीविरुद्ध प्राप्त जितमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेका थिए ।
स्टर्लिङ लयमा देखिएका छन् र प्रशिक्षक गेराथ साउथगेटले उनको खुबै प्रशंसा गरिरहेका छन् । जर्मनीलाई हराउन अगाडि भने फुटबल पण्डितहरूले उनको खुबै आलोचना गरेका थिए, विशेषतः इंग्लिस टिमले अपनाएको देखिएको रक्षात्मक रणनीतिका लागि । जर्मनीलाई हराएपछि भने यिनै आलोचक साउथगेटको समर्थक भएका छन् र उनले यो खेलमा अपनाएको रणनीतिको प्रशंसा गरिरहेका छन् । जत्तिकै आलोचना भएपछि अहिलेको इंग्ल्यान्डले टिमले युरो २०२० मा तय गरेको यात्राको सबैभन्दा ठूलो विशेषता हो, अहिलेसम्म खेलेका चार खेलमा कुनै फनि गोल नखानु ।
यस्तोमा युत्रेनका लागि इंग्ल्यान्डको यही बलियो रक्षापंक्तिलाई तोड्नु सबैझन्दा ठूलो चुनौती रहनेछ । युत्रेनको क्वाटरफाइनल यात्रा आफैमा सनसनीफूर्ण रहेको छ । युत्रेनले अन्तिम आठमा प्रवेशका लागि स्विडेनमाथि नाटकीय जित निकालेको थियो । स्विडेन जहाँ आफ्mनो समूहको विजेता थियो, त्यहीं युत्रेन बल्लतल्ल नकआउट चरण पुगेको थियो भन्दा हुन्छ, तेस्रो स्थानमा आउने टिममध्येबाट । स्विडेनविरुद्ध प्राप्त २–१ जितमा अतिरिक्त समयको इन्ज्युरी समयमा निर्णायक गोल झएको थियो । युत्रेनका लागि अहिलेसम्म तय गरेको युरो यात्रा ठूलो उपलब्धी सावित भइसकेको छ, तर पनि इंग्ल्यान्ड यो खेलको अझै पनि बलियो फ्रत्यासी रहनेछ ।
यसको कारण हो, इंग्लिस टिम र खेलाडी दुवै आत्मविश्वासी हुनु । युत्रेनी टिम र खेलाडी पनि स्विडेनमाथि प्राप्त जितपछि उत्तिकै उत्साहित र आत्मविश्वासी भएको हुनु पर्छ । यो खेललाई लिएर एउटा अर्को तथ्य के पनि निश्चित छ भने यसले पर्याप्त रोमाञ्चक पस्कने निश्चित छ । नकआउट चरण यस्तो खेल हो, जहाँ सानो भुल कुनै पनि टिमलाई प्रतियोगिताबाट बाहिरिन पर्याफ्त हुन सक्छ । तय छ, युत्रेनले इंग्ल्यान्डलाई तेर्साउन चुनौती पनि कम्तीको हुन्न ।

खेलकुद

डेनमार्कलाई अवरोध तेर्साउँदै चेक

- कान्तिपुर संवाददाता


बाकु (एएफपी)– सन् १९९२ मा जस्तै डेनमार्कले फेरि एकपल्ट युरोपेली उपाधि जितेको सपना बुनिरहेको छ, तर शनिबार हुने खेलमा विजयी रहेर सेमिफाइनल प्रवेशका लागि उसलाई अवरोध तेर्साउने काम गर्नेछ, चेक गणतन्त्र । चेक त्यही टिम हो, जसले यसअघि पनि डेनमार्कलाई नकआउट चरणमा पन्छाइसकेको छ ।
समूह चरणको सुरुआती दुई खेलमा फिनल्यान्ड र बेल्जियमविरुद्ध हार बेहोरेपछि डेनमार्क प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रेको थियो । त्यसमाथि पहिलो खेलमा स्टार खेलाडी क्रिस्टियन एरिक्सनलाई मैदानमै हृदयघात भएपछि टिमको प्रदर्शन पनि ओझेलमा परेको थियो । कोपनहेगनका आफ्ना समर्थक अगाडि डेनमार्कले समूह ‘बी’ को अन्तिम खेलमा रुसलाई ४–१ ले हरायो । यस जितले डेनमार्क समूहको दोस्रो स्थानमा रह्यो । त्यसपछि उसले अन्तिम १६ मा वेल्सलाई आम्स्ट्रडममा वेल्सलाई ४–० ले हराएको थियो ।
डेनमार्कले २९ वर्ष अगाडि उपाधि उचालेयता अहिलेसम्म कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनल यात्र तय गरेको छैन् । त्यस उपाधि जितेको संस्करणमा पनि डेनमार्कले युगोस्लाभिकियाको स्थानमा मात्र प्रतियोगिता खेल्ने मौका पाएको थियो  । अन्तिम आठको खेल अगाडि डेनिस प्रशिक्षक कास्पर हिजुलमन्ड भन्छन्, ‘अहिले हामीलाई जुन अवसर प्राप्त भएको छ, फेरि दोहराएर यस्तै अवसर आउन गाह्रो छ । यसका लागि धेरैको वर्षौको मिहिनेत लुकेको हुन्छ । अहिले हामी यही मौकाको सक्दो उपयोग गर्न चाहन्छौं ।’
अजरबैजानमा हुने खेलमा जित प्राप्त गर्न सके, डेनमार्कको फ्रतिद्वन्द्वी इंग्ल्यान्ड अथवा युत्रेन हुनेछ । एरिक्सनको स्थानमा खेल्ने मौका पाएका युवा खेलाडी मिखेल डाम्सगार्डले अहिलेसम्म राम्रो प्रदर्शन गरेका छन् र उनले रुसविरुद्ध पनि उत्कृष्ट गोल गरे । उनी भन्छन्, ‘वेल्सविरुद्धको खेल मेरो जीवनको सबैभन्दा ठूलो खेल थियो । अबको खेल सायद यो भन्दा पनि ठूलो हुनेछ ।’ प्रशिक्षक हिजुलमन्डसामु खेलाडी छनोटमा चोटका कुनै समस्या हुने छैन् । सन् २००४ मा डेनमार्क अन्तिम पटक ठूलो प्रतियोगिताका रूपमा युरोको क्वाटरफाइनल पुगेको थियो ।
चेक गणतन्त्रले भने आफ्नो अन्तिम खेलमा १० खेलाडीमा सीमित नेदरल्यान्ड्समाथि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो र त्यसक्रममा बुडाडेस्टमा भएको खेलमा २–० को जित निकालेको थियो । चेकलाई अहिले बाकुमा खेल्न परेकोमा भने गुनासो छ । डच टिमलाई पराजित गर्दा सात हजार समर्थक पुस्कास एरेनमा उपस्थित थिए । तर तिनै चेक समर्थकका लागि यसपल्ट बाकु भ्रमण सजिलो छैन् । मिडफिल्डर पेटर स्भेसिक मान्छन्, ‘आफ्ना समर्थक विना खेल्नु निकै खल्लो हुने गर्छ ।’
डेनमार्क प्रमुख प्रतियोगितामा पछिल्लो पटक क्वाटरफाइनल पुगेको युरो २००४ मा हो, जहाँ टोली पावेल नेडभेडको प्रेरणा र मिलानको २ गोलबाट प्रेरित चेक गणतन्त्रसँग ३–० ले पराजित भएको थियो । ‘कोपेनहेगनको टाउन हल स्क्वायरमा बसेर त्यो खेल हेरिरहदा निकै नराम्रो अनुभव बोक्नु परेको थियो,’ डेनिस मिडफिल्डर म्याथिएस जोर्गेनसनले युइएफए डटकममा भनेका छन् ।
जारोस्लाभ सिल्हार्भीको चेक सेमिफाइनलमा ग्रिससँग पराजित भएको थियो । लयमा रहेका अग्रपंक्तिका खेलाडी प्याट्रिक सिकमा पूर्णतः निर्भर चेकले यसपल्टका चार खेलमा दुई गोल मात्र खाएको छ । यी बायर लेभरकुजन खेलाडीले चार गोल गरिसकेका छन् । उनी क्रिस्टियानो रोनाल्डोको भन्दा एक गोलले मात्र पछाडि छन् र गोल्डेन बुट अवार्डको पछाडि छन् । प्रतियोगितामा चुनौती कामय रहेका खेलाडीमध्ये सिक नै चार गोल गर्ने एक्ला खेलाडी हुन् । 

खेलकुद

‘चेक गणतन्त्र फाइनल पुगोस’

- विष्णुकुमार अग्रवाल


अरू धेरै फुटबल समर्थकले जस्तै मैले पनि युरो २०२० लाई उत्तिकै उत्साहले पछ्याइरहेको छुं । प्रतियोगितामा मेरो नजर कोही फुटबल विशेषज्ञको जस्तो नहोला, तर आम समर्थकले जस्तै मैले पनि यसको खुबै मज्जा लिइरहेको छुं । भनिरहनु पर्दैन्, म चेक गणतन्त्रको समर्थक नै हुं । निश्चित रूपमा चेक टिमबाहेक अन्य टिमका म समर्थक हुने प्रश्न नै हुन्न ।
चेक गणतन्त्रको टिमले खेलिरहेको हुनाले पनि मलाई युरो २०२० मा बढी रूचि भएको हो । आखिरमा मैले नेपालमा चेक गणतन्त्रको प्रतिनिधित्व गरिरहेको छुं, त्यसैले टिमलाई मेरो शुभकामना छ । शनिबार चेक गणतन्त्रले अन्तिम १६ मा डेनमार्कका सामना गर्नेछ । म चाहन्छुं, चेक टिम यो खेल मात्र जित्ने छैन्, उसले फाइनलसम्मको यात्रा गर्नेछ । चेकले पस्किरहेको फुटबल पनि आफैमा उत्कृष्ट छ ।
टिम फाइनल पुग्नका लागि लागि सक्षम पनि छ र यसको एउटा कारण हो, प्याट्रिक सिक । उनले निकै राम्रो खेलिरहेका छन् र डेनमार्कविरुद्ध पनि उनले गोल गर्ने विश्वास छ । सायद काठमाडौं रेजर्ससँग आवद्ध भएयता फुटबल हेर्ने मेरो नजर केही फेरिएको छ । नेपाल सुपर लिग काठमाडौंले जित्दा म निकै खुसी भएको थिएँ, जुन स्वभाविक पनि थियो ।
टिम च्याम्पियन हुँदा त्यसले दिएको खुसी व्यवसायिक क्षेत्रमा प्राप्त कुनै सफलता भन्दा पनि अद्धितीय थियो, मैले यस्तै महसुस गरें । हाम्रो व्यवसायिक समूहको धेरै उद्देश्य छन्, त्यसमध्यै एक प्रमुख उद्देश्य काठमाडौं रेजर्सलाई अझ बलियो बनाउनु हो । यो टिमलाई माथिल्लो स्तरमा पुर्‍याउन मेरो सक्दो प्रयास हुनेछ, हेरौं मैले कत्तिको गर्न सक्ने हो । काठमाडौं टिमसँग आवद्ध भएपछि हाम्रो लागि धेरै अवसर पनि खुलेका छन् ।
जस्तो, हामी फुटबल एकेडेमी खोल्ने सोचमा छौं र यसका हामीले धेरै गर्न सक्छौं । हाम्रो लागि यो फुटबल टिम नेपालका युवा वर्गसँग सही कारणका लागि सम्बन्ध जोड्ने अवसर पनि बनेको छ । युवा मात्र होइन्, हामी काठमाडौं टिमको माध्यमबाट सर्वसाधारणसँग भलाकुसारी गर्न सक्छौं । त्यसैले काठमाडौं रेजर्सको परियोजनालाई लिएर पनि म निकै उत्साहित छुं ।
(अग्रवाल नेपालका लागि चेक गणतन्त्रका अवैतानिक दूतसँगै काठमाडौं रेजर्सका मालिक पनि हुन् । यस्तै उनी एमएडब्लूका कार्यकारी निर्देशक पनि हुन् ।)

खेलकुद

प्लेयर्स टु वाच

- कान्तिपुर संवाददाता


प्याट्रिक सिक, चेक गणतन्त्र
पछिल्लो सिजन बायर लेभरकुजनका लागि बुसन्डेसलिगा खेलेका प्याट्रिक सिक नाम चलेका स्ट्राइकर होइनन् । चेक टिमको युरो २०२० को पहिलो खेलमै स्कटल्यान्डविरुद्ध २–० को जितमा मध्यभागबाटै गोल गरेरपछि चर्चामा आएका उनले चार खेलसम्म चार गोल गरिसकेका छन् । उनीभन्दा अगाडि
पोर्चुगज क्रिस्टियानो रोनाल्डो (५) मात्रै छन् । स्कटल्यान्डविरुद्ध दुई तथा क्रोएसिया र नेदरल्यान्ड्सविरुद्ध १–१ गोल गरेका उनले कुल १३ पल्ट पोष्टमा प्रहार गरे । त्यसमध्इे आठ प्रहार ‘अन टार्गेट’ रह्यो । २५ पवर्षीय उनी प्रतिघन्टा ३२.४ किमिसम्म दौडिएका छन् ।


रहिम स्टर्लिङ, इंग्ल्यान्ड
म्यानचेस्टर सिटीमा उतारचढावपूर्ण सिजनसँगै रहिम र्स्टिर्लङलाई लिएर इंग्ल्यान्डको पहिलो रोजाईको टिम छनोटमा प्रश्न उठेको थियो । तर, उनले युरो २०२० मा भने आफ्नो स्कोरिङ कौशल देखाइदिए । इंग्ल्यान्डले अन्तिम आठसम्म पुग्दा चार खेलमा चार गोलमात्रै गरेको छ र त्यसमध्ये तीन गोल र्स्टिर्लङले गरेका हुन् । २६ वर्षीय यी फरवार्डले यसपाली ३३६ मिनेट खेल्दै सातपल्ट पोष्टमा प्रहार गरे र त्यसमध्ये चार प्रहार ‘अन टार्गेट’ रह्यो । प्रतिघन्टा ३३.१ किमिसम्म दौडिएको उनको ८१ प्रतिशत पास सफल रहेको छ ।