You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

'महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

- मनोज बडू

(दार्चुला) - व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना घरनजिकै महाकालीमा डुब्न पुग्यो ।
गाउँनजिकैको मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम आउने जयसिंहको योजना थियो । तर, नदीमा खसेर उनी बेपत्ता भएका छन् । ‘तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेका हुन्,’ स्थानीय बासिन्दा भन्छन् ।
स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६/७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री थिए जयसिंह । उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए ।

‘पारि पुग्न तीन/चार मिटरमात्र बाँकी थियो होला, त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा खोलिदिए । तुइनसहित जयसिंह पनि महाकालीमा खसे, पानीको वेगले उनलाई बगायो,’ नवीनले भने ।
एसएसबीका सुरक्षाकर्मीले लट्ठा खोल्न थालेपछि वारिबाट मान्छेहरू चिच्याएका थिए । ‘तुइन नखोल्न एसएसबीलाई आग्रह गर्दासमेत वास्ता भएन । हात
जोड्दा, सलाम गर्दा पनि फटाफट तार खोलिरहे । जयसिंहले त एसएसबीले तुइन खोलेको समेत पत्तो पाएनन्,’ नवीनले भने ।
तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन् । ‘केही परसम्म हामीहरूले जयसिंहलाई बगेको देख्यौं, केही तलसम्म खोज्न पनि गयौं तर भेट्टाउन सकेनौं,’ प्रत्यक्षदर्शी विक्रम रङ्कलीले भने । लगत्तै गाउँलेलाई घटनाबारेमा जानकारी गराएपछि सबै स्थानीय जयसिंहलाई खोज्न महाकाली किनारतिर लागेको पनि
उनले बताए ।
घटनाबारे केहीबेरमै दुम्लिङ प्रहरी चौकीमा खबर भएको थियो । दुम्लिङ र सुन्सेरा चौकीबाट प्रहरी तथा दुम्लिङ बीओपीका सशस्त्र प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । तर, मध्यरातसम्म पनि कतै केही पत्तो लागेको छैन ।
घटनालगत्तै नेपाल प्रहरीले पारिका प्रहरीलाई पनि खबर गरेको थियो । जयसिंहभन्दा अघि तरेर गएका तीन जनालाई केहीबेर नियन्त्रणमा लिएर एसएसबीले पाङ्लास्थित पोस्टमा राखेको थियो । पछि उनीहरूलाई छाडिसकेको छ । तर, उनीहरूसँग संवाद हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जयसिंह महाकाली नदीमा बेपत्ता भएको यकिन भए पनि घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘एसएसबीले तुइन काटिदिएकाले महाकालीमा खसेर उनी बेपत्ता भएको स्थानीयको भनाइ छ, तर कतिपयले एसएसबीले तुइन काट्दा जयसिंह महाकालीमा खसिसकेको बताइरहेका छन्,’ चन्दले भने, ‘यो विषयमा विस्तृत अनुसन्धानपछि मात्र प्रस्ट भन्न सकिन्छ ।’
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ४० नम्बर गण दार्चुलाका गणपति नरेन्द्रबहादुर बमले भारतीय एसएसबीका कमान्डेन्डसँग बुझ्दा मानिस तरिरहेकै अवस्थामा तुइन खोलेको हुन नसक्ने जवाफ आएको बताए । ‘मानवीय संवेदनालाई मध्यनजर गर्दा यतिसम्म नगरेको होला भन्ने उनीहरूको भनाइ छ,’ उनले भने, ‘तुइन तरिरहेकै अवस्थामा उनीहरूले पनि नकाट्नुपर्ने हो तर यकिन हुन सकेको छैन ।’
तर, न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन् । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । जयसिंहले तुइन तर्दै गर्दा पोसाक र हतियारसहित आएका एसएसबीले तुइन काटेको लिखित दाबी उनीहरूको छ ।
‘बाँच्न पाउने मानव अधिकार, न्यूनतम मानवीय मूल्यमान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्धलाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा काटेर जिउँदै नदीमा बगाएको हुँदा उक्त पाशविक घटनामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई आग्रह गर्दछौं,’ निवेदनमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । ‘महाकाली तरेर भारततर्फ पुग्ने क्रममा एसएसबीले तुइनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको हुनाले घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरेका छन् ।
यस्तै, बेपत्ता युवकका आफन्तले घटना छानबिनको माग गर्दै महाकालीपारि भारतको पाङ्ला थानामा पनि निवदेन दिएका छन् । पहिलेदेखि नै स्थानीयले घाट बनाएर वारपार गरिँदै आएको ठाउँबाट महाकाली तरिरहँदा एसएसबीका जवानले तुइनको तार काटेकाले जयसिंह नदीमा खसेको उनीहरूको दाबी छ ।

घटना आपत्तिजनक ः कांग्रेस
सत्तारुढ दल नेपाली कांग्रेसले महाकाली नदी तर्ने क्रममा भारतीय पक्षबाट तुइन काटिदिएपछि नेपाली युवक बेपत्ता भएको घटनालाई दुःखद्, अमानवीय र आपत्तिजनक भनेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न र
आफ्ना नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।

 

मुख्य पृष्ठ

महाकालीमा मात्रै ११ तुइन

- कान्तिपुर संवाददाता


२०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेकै दिन दुई वर्षभित्र तुइनमुक्त देश बनाउने घोषणा गरेका थिए । विडम्बना, दार्चुलाका बासिन्दाको जीवन
अहिले पनि तुइनमै छ । गत जेठमा सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार अझै १४ वटा तुइन सञ्चालनमा छन् ।
महाकाली पारि जाने ११ तुइन विस्थापन गर्न नेपालले प्रस्ताव गरे पनि भारतले चार ठाउँमा मात्र सहमति दिएको थियो । सुरक्षा संवेदनशील क्षेत्र भन्दै भारतले व्यास गाउँपालिकाको वडा २ मालघाट, वडा ४ मल्घट्या र वडा ६ को बडूगाउँ तथा मालिकार्जुन गाउँपालिका–६ को बाकुमा झोलुङ्गे पुल बनाउन अनुमति दिएको थियो । बडूगाउँको पुल निर्माण अन्तिम चरणमा पुगेको र बाकुमा आधाजति पुल निर्माण भएको छ । मल्घट्यामा २० प्रतिशत पनि काम भएको छैन । शुक्रबार घटना भएको मालघाटमा शिलान्यासपछि कामै रोकिएको छ ।
मालघाट पुल ठेक्का पाएका एमाले नेता धनबहादुर कुँवरमाथि प्रशासनले कुनै कारबाही गरेको छैन । ‘बजेट आयो, ठेक्का पनि लाग्यो तर शिलान्यासपछि कुनै काम भएको छैन,’ स्थानीय नरेन्द्रसिंह धामीले भने ।

मुख्य पृष्ठ

लुम्बिनीका ३ मन्त्रीको सांसद पद खारेज, सरकार अल्पमतमा

- अमृता अनमोल

(बुटवल) - लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गुमेको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन् । सन्तोषकुमार रूपन्देही र विजयबहादुर बाँकेबाट प्रत्यक्ष तथा कल्पना अर्घाखाँचीबाट समानुपातिक सांसद थिए । उनीहरू पदमुक्त भएसँगै शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई गत मंगलबार जसपाको केन्द्रीय कार्यकारिणी समितिले पार्टीबाट निष्कासन गरेको थियो । जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा निष्कासनसम्बन्धी पत्र दर्ता गरेको थियो । उनीहरू पदमुक्त भएको सूचना शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेका हुन् । पार्टी सदस्य नरहेको व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ (२) प्रदेशसभा नियमावली, २०७४ को नियम १९१ अनुसार पदमुक्त गरिएको सचिव पुनले बताए ।
लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेकामा एमालेका अमरबहादुर डाँगी र दृगनारायण पाण्डेले राजीनामा दिइसकेका छन् । माओवादीबाट एमालेमा प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थी पनि यसअघि नै पदमुक्त भइसकेका छन् । जसपाका ३ सदस्य पदमुक्त भएपछि प्रदेशसभा ८० सदस्यीय भएको छ । जसमा एमालेका ३८ जना छन् । नेपाली कांग्रेस, माओवादी,
जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा भने ४१ सदस्य (सभामुखबाहेक) छन् ।
अध्यादेशमार्फत बजेट ल्याएर आयु लम्ब्याएको एमाले नेतृत्वको सरकार सहज रूपमा बाहिरिने मनस्थितिमा देखिँदैन । यसअघि जस्तै शुक्रबार पदमुक्त भएकालाई अदालतबाट पुनर्बहाली गराएर सरकार जोगाउने कसरतमा मुख्यमन्त्री पोखरेल लागिपरेका छन् । पदमुक्त दधिराम न्यौपाने र दिनेश पन्थीको पुनर्बहाली गराउने र जसपाका सांसद पुर्मती ढेंगा मगरलाई फ्लोर क्रस गराउने अन्तिम योजनासमेत सरकारको छ । एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले विपक्षीले सडकमा बहुमत दाबी गरेकै भरमा सरकारबाट नबाहिरिने बताए । कानुनतः अझै पनि आफ्नो पक्षमा बहुमत रहेको उनको दाबी छ । ‘पदमुक्त सांसदहरूको निवेदनमा अदालतको राय के हुन्छ, त्यो हेरेर मात्रै सरकारको अल्पमत र बहुमत देखिनेछ,’ उनले भने ।
प्रदेशसभा सदस्यबाट पदमुक्त भएका जसपाका ३ नेता पुनर्बहालीको माग गर्दै अदालत जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका बेला पार्टीबाट निष्कासन गर्नु र प्रदेशसभाले पदमुक्त गर्नु अदालतको अवहेलना भएको उनीहरूको भनाइ छ । पदमुक्त सांसद सन्तोषकुमार पाण्डेयले पुनर्बहालीसँगै सभामुख पूर्णबहादुर घर्ती र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिने बताए ।

‘जसपाले साधारण सदस्यसमेत नरहने गरी एक पटक कारबाही गरिसकेको छ । त्यसकै आधारमा प्रदेशसभाबाट पदमुक्त गरिएको छ । तर हामीलाई अदालतले अहिले जसपा सदस्यका रूपमा होइन, प्रदेशसभा सदस्यका रूपमा पुनर्बहाली गरेको हो,’ उनले भने ।
एमाले प्रवेश गरेपछि प्रदेशसभा सदस्य पद गुमाएका दुई नेता पनि अदालत पुगेका छन् । माओवादी केन्द्रबाट चुनाव जितेका दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । साउन ७ गते निवेदन दिएका उनीहरूको मुद्दामा आइतबार सुनुवाइ हुँदै छ । आइतबार नै अन्तरिम आदेश हुने नहुने टुंगो लाग्ने निवेदकहरूका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता ईश्वरी भट्टराईले बताए । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचन लडेकाले एमाले प्रवेश गरेको भनेर आफूहरूलाई हटाइनु विधि र विधानविपरीत रहेको उनीहरूको दाबी छ । न्यौपाने रूपन्देही र पन्थी गुल्मीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

विपक्षी गठबन्धनले बहुमत दाबी गर्ने
विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर शनिबार आफ्नो बहुमत दाबी गर्ने भएको छ । त्यसका लागि सभामुख पूर्णबहादुर घर्तीसहितका ४२ सदस्य प्रदेश प्रमुखकहाँ जाने कार्यक्रम तय भएको छ । भौतिक उपस्थितिमार्फत प्रदेश प्रमुखलाई वर्तमान सरकार अल्पमतमा रहेको र विपक्षी गठबन्धनमा बहुमत रहेको जानकारी दिने तयारी रहेको कांग्रेसका मुख्य सचेतक फकरुद्दिन खानले बताए । ‘अल्पमतमा परेको जानकारीपछि मुख्यमन्त्रीले आफैं राजीनामा दिएर बाटो खुला गर्नुहोला भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसैले सुरुमा प्रदेश प्रमुखलाई मौखिक जानकारी मात्र दिन लागेका हौं ।’ आइतबारसम्म पनि राजीनामा नआए प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्ने र अविश्वास प्रस्तावमार्फत सरकारलाई किनारा लगाउने विपक्षी गठबन्धनको तयारी छ ।
यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा शुक्रबार दिउँसो उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले प्रदेशलाई संवैधानिक तरिकाले अगाडि बढाउने बताए ।

मुख्य पृष्ठ

अस्पताललाई समेत प्रभावित पारेर सेती थुन्न अनुमति

- दीपक परियार

(पोखरा) - रामघाटमा स्थायी बाँध बनाएर सेती नदी थुन्दा पहिलो असर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पर्छ । किनभने पूर्वतिर डिलैमा छ अस्पताल । त्यसैले बाँधका लागि प्रस्तावित योजनाको अस्पतालले विरोध गर्ला भन्ने अनुमान सामान्य सुझबुझ भएका जो कसैले गर्छ । तर, उदेकलाग्दो के भने अस्पतालले नै पोखरा महानगरपालिकालाई ‘सेती थुने हुन्छ’ भनेर अनुमति दिएको रहेछ, जसको रहस्योद्घाटन हुँदा पोखरेलीहरू चकित छन् । अस्पतालको संवेदनशीलतालाई बेवास्ता गर्दै प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले आफू सेवानिवृत्त हुनु दुई दिनअघि सेती थुन्ने परियोजनालाई अनुमति दिएका हुन् ।
रामघाटको डिलसँगै अस्पताल जोडिएकाले गत माघमा महानगरपालिकाले सेती थुनेर नदीजन्य पदार्थ उत्खनन गर्ने परियोजनाबारे जानकारीसहित अस्पतालको धारणा माग्दै पत्र लेख्यो । परियोजना कार्यान्वयन गर्दा अस्पताललाई पर्न सक्ने
असरबारे राय माग्दै सैद्धान्तिक स्वीकृति पनि मागेको थियो । तत्कालीन उपकुलपति थापाको पदावधि फागुन १६ मा सकिँदै थियो । उनले दुई दिनअघि कार्यकारी परिषद्को बैठक डाके । अस्पतालको आपत्ति नरहेको, बरु परियोजनाबाट हुने मुनाफाको केही प्रतिशत अस्पतालले पनि पाउनुपर्ने निर्णय बैठकबाटै गराएर महानगरलाई जवाफी पत्र पठाए ।

कार्यकारी परिषद्मा उनीसहित पाँच जना थिए– तत्कालीन डिन डा. नरेन्द्रविक्रम गुरुङ, निर्देशक डा. अर्जुन आचार्य, डा. रोहिणी सिग्देल र डा. ध्रुवबहादुर अधिकारी । डिन गुरुङ थापाकै ‘एस म्यान’ थिए भने सिग्देल उनकी आफ्नै बुहारी हुन् । अधिकारी, थापाकै साला नाता पर्छन् । परिषद्मा आफ्नै बहुमत भएपछि थापाले एकलौटी निर्णय गर्ने गरेको अस्पतालकै एक चिकित्सकले बताए । ‘सेती थुन्ने आयोजनालाई पनि उनकै जोडबलमा अनुमति दिने निर्णय गराइयो,’ ती चिकित्सकले भने, ‘जाँदाजाँदै गरिएको यस्तो निर्णय अस्पतालका लागि घातक छ ।’
अस्पतालको संवेदनशीलतालाई र भविष्यमा पर्न सक्ने असरलाई मध्यनजर नगरी अनुमति दिनुमा पूर्वउपकुलपतिकै स्वार्थ जोडिएको हुन सक्ने उनको आरोप छ । ‘ठुल्ठूला मेसिन राख्ने भनिएको छ । मेसिनले सेतीबाट बालुवा निकालेर थुपार्दा उड्ने धूलोले अस्पतालका बिरामीलाई असर गर्छ,’ उनले भने, ‘ठूलो संख्यामा ट्रक, टिपर र ट्र्याक्टरको दौडादौडबाट पुग्ने असरलाई नजरअन्दाज गरिएको छ ।’
पूर्वउपकुलपति डा. थापाले भने तीन–चारवटा बैठकपछि मात्रै सहमति जुटेर अनुमति दिएको दाबी गर्छन् । आफूले पठाएको पत्रको व्यहोरा भने सम्झना नभएको उनले बताए । विज्ञसँग राय लिएर निर्णय गरेको/नगरेको भन्ने प्रश्नको जवाफ भने उनले दिन चाहेनन् । उनले भने, ‘मलाई धेरै कुरा सम्झना छैन, नयाँ टिमसँग सोध्नु ।’ उनीपछि नियुक्त भएका उपकुलपति प्रा.डा. डुकबहादुर क्षत्रीले भने महानगरलाई त्यस्तो पत्र पठाएकोबारे आफूलाई थाहा नभएको बताए । ‘वातावरणविद् र विज्ञसँग बसेर छलफल गर्छौं,’ उनले भने, ‘अस्पताललाई असर पर्ने रहेछ भने अघिल्लो पत्रमा पुनर्विचार गरेर फरक रायसहितको अर्को पत्र पठाउँछौं ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले आयोजनाअनुसारका संरचना बन्दा अस्पताललाई के–कस्तो असर पर्छ भन्नेबारे धारणा मागेको बताए । ‘अस्पताल धेरै नै प्रभावित हुने रहेछ भने आयोजना अगाडि बढाउन विचार गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘सहमतिबेगर काम गर्नु हुँदैन भनेर पनि अस्पतालको अनुमति खोज्यौं ।’ नदीजन्य पदार्थ उत्खननलगायत प्रक्रियामा धूलो उड्ने, मेसिनको आवतजावतले एक स्तरको बाधा उत्पन्न हुने उनले स्विकारे । संघअन्तर्गत ३ सय ५० बेडको अस्पताल हाल २ सय ७ रोपनीमा फैलिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको हो ।

सेती क्यान्योनसँग प्रारम्भिक सम्झौता
सेती खोंच र पातले छाँगो (डेभिज फल्स) ४० वर्षका लागि भाडामा दिन पोखरा महानगरपालिकाले सेती क्यान्योन प्रालिसँग शुक्रबार प्रारम्भिक सम्झौता गरेको छ ।
महानगरको सार्वजनिक–निजी साझेदारी समितिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यान्योन प्रालिका अध्यक्ष कर्केनकुमार गुरुङले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुई वर्षभित्र सेती क्यान्योनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्छ । उक्त प्रतिवेदन स्वीकृत भएमात्रै कम्पनीले आयोजना अगाडि बढाउने अनुमति पाउने बरालले बताए ।
विरोधकै बीच पोखराको प्राकृतिक सम्पदा भाडामा दिने गरी सम्झौता भएको हो । उक्त प्रक्रिया रोक्न राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सटिजन्स जुरी कास्की र नागरिक समाज कास्कीले महानगर उपप्रमुख मञ्जुदेवी गुरुङलाई बिहीबार ज्ञापनपत्र बुझाएका थिए । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमाले (माधव समूह) र राष्ट्रिय जनमोर्चाले बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यी आयोजना खारेजीको माग गरेका छन् । वातावरणविद्, भूगर्भविद्ले समेत सेती नदी र खोंचको भौगोलिक जटिलतालाई मध्यनजर गर्दै आयोजना उपयुक्त नभएको बताएका छन् । रामघाटमा ड्याम बनाएर सेती नदी थुन्दा अकल्पनीय विपत्ति आउने उनीहरूको भनाइ छ ।
सेती क्यान्योनका अध्यक्ष गुरुङ भने डीपीआर र ईआईए स्वीकृत हुने नहुने जोखिम लिएरै लगानी गर्न चाहेको बताउँछन् । ‘भोलि ईआईए स्वीकृत भएन भने करोडौं रुपैयाँ डुब्छ,’ उनले भने, ‘नयाँ प्रविधिको प्रयोग गरेर साहसिक पर्यटनको गन्तव्य बनाउने सोच हो । यसले पोखराकै मुहार फेर्छ ।’ वातावरणविद्, नागरिक समाजलगायतको चासो र चिन्ताको सम्बोधन गर्ने गरी काम गर्ने उनले बताए ।
सम्झौताअनुसार फेवातालको पुछारबाट पार्दी खोलाको १.५ किलोमिटर र डेभिज फल्स वरपरको जग्गा सेती क्यान्योन प्रालिले ४० वर्षका लागि भाडामा लिनेछ । डेभिज फल्समा प्रालिले सिसाको पुल, पानीसहितको म्युजिकल फाउन्टेन, बगैंचा, कृत्रिम झरना, सेल्फी बिन्दु, सुरुङ मार्ग, रेस्टुरेन्ट र क्याफे, चिल्ड्रेन पार्क, ड्याम, स्टिम बोट, धार्मिक मिनियचरलगायत संरचना बनाउने उल्लेख छ । महानगरले जग्गा भाडामा लगाएबापत व्यवसाय सञ्चालन मितिदेखि ३ वर्षसम्म वार्षिक २ करोड रुपैयाँ र कुल आम्दानीको ८.५ प्रतिशत, चौथो वर्षमा २ करोडमा ५ प्रतिशत वृद्धि र त्यसपछि प्रत्येक २–२ वर्षमा ५ प्रतिशतले वृद्धि र कुल आम्दानीको १० प्रतिशत रोयल्टीको प्रस्ताव गरेको छ । हाल डेभिज फल्सको रेखदेख छोरेपाटन माविले गर्दै आएको छ । कोरोना महामारीबाहेक वार्षिक २ करोड ३० लाख रुपैयाँ डेभिज फल्सको टिकट र सटर भाडाबाट विद्यालयले आम्दानी गर्छ । झन्डै २ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने विद्यालय सञ्चालनमा उक्त रकम खर्च हुन्छ ।
पोखरा–१ गाईघाटदेखि पोखरा–१७ ढुंगेसाँघुसम्म ८.६८ किलोमिटरमा फैलिएको सेती खोंचमा साहसिक पर्यटन पूर्वाधार निर्माण हुनेछन् । यसमा डेढ अर्ब रुपैयाँ खर्चने प्रालिको तयारी छ । यो योजनामा महानगरले भीर, डिलसम्बन्धी आफैंले बनाएको मापदण्ड लत्याउँदै सेती खोंच निजी क्षेत्रलाई सुम्पिएको हो । भूगर्भविद्, विज्ञसमेतको संलग्नतामा सेती डिल भौगोलिक हिसाबले संवेदनशील रहेको भन्दै उक्त क्षेत्रमा ५ देखि ५० मिटर मापदण्ड महानगरले कायम गरेको थियो । प्रालिले भवन नक्सा पास गर्दा मापदण्डसम्बन्धी व्यवस्था लागू नहुने मस्यौदामा उल्लेख छ । २२ वर्षअघि जर्मनीको भू–वैज्ञानिक तथा प्राकृतिक स्रोतसाधन संस्थानले सेती खोंचको अध्ययन गरेको थियो । सेती डिल वरिपरि ७५ मिटर जोखिमयुक्त रहेको उक्त अध्ययनको निष्कर्ष थियो । हाल पोखरा–१५ अमिनतरामा दैनिकजसो सेती डिलमा पहिरो खसिरहेको छ ।

 

Page 2
समाचार

त्रिविमा तालैताला

- सुदीप कैनी

(काठमाडौं) - षेधाज्ञा हटेर परीक्षा र पढाइको तरखरमा जुट्दै गरेको त्रिभुवन विश्वविद्यालयमा एक सातादेखि तालाबन्दी छ । आंशिक प्राध्यापकले करार हुनुपर्ने माग राख्दै गत शुक्रबार उपकुलपति, रजिस्ट्रार, रेक्टरसहित सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन् । त्रिविअन्तर्गतकै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान र चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा सत्तारूढ दलनिकट विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
आंशिक प्राध्यापकले करार हुनुपर्ने माग राख्दै गत शुक्रबार त्रिविका महत्त्वपूर्ण निकायमा ताला लगाएका हुन् । उपकुलपति कार्यालयअन्तर्गतको कार्यकारी, प्राज्ञिक परिषद्, अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्र, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालय मातहतको अनुगमन निर्देशनालय, अनुसन्धान केन्द्र, समन्वय महाशाखामा कामकारबाही बन्द छ । रजिस्ट्रार कार्यालयको मूलगेटमै तालाबन्दी गरिँदा त्यस परिसरमा रहेका विज्ञान प्रविधि अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थान डिन कार्यालयको कामकाज पनि अवरुद्ध भएको छ । आर्थिक, सामान्य प्रशासनलगायत महाशाखामा पनि काम हुन सकेको छैन । आंशिक प्राध्यापकहरू नै आन्दोलनमा उत्रिएकाले ६० भन्दा बढी आंगिक क्याम्पसको अनलाइन पठनपाठनमा पनि असर पुगेको छ ।
पदाधिकारीलगायत कर्मचारी कार्यालय आउने हाजिर गरेर फर्कने र बस्ने गरेका छन् । त्रिविको पाठ्यक्रम विकास केन्द्रले समकक्षताको प्रमाणपत्र वितरण गर्न नपाउँदा विद्यार्थीले हैरानी बेहोर्नुपरेको छ । त्रिवि सेवा आयोग कार्यालयमा समेत तालाबन्दी गरेका कारण प्राध्यापक, कर्मचारी छनोटमा समेत असर पुगेको छ । आंशिक प्राध्यापक नारायण कोइरालाले सरकारले आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय कार्यान्वयन नभएकाले दबाब दिन तालाबन्दी गर्नुपरेको बताए । शेरबहादुर देउवा नेतृत्वकै सरकारले २०७४ सालमा त्रिविमा कार्यरत एक हजार चार सय २० आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय गरेको थियो । गत वर्ष पनि आंशिक प्राध्यापकले डेढ महिनासम्म सोही निर्णय कार्यान्वयनका लागि त्रिविका निकायहरूमा तालाबन्दी गरेका थिए । त्यतिबेला त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले गरेको सम्झौता पनि कार्यान्वयन भएको उनीहरूको गुनासो छ । गत वर्ष आंशिक प्राध्यापकलाई सम्बन्धित क्याम्पसले नै करार गर्ने र बाँकीको व्यवस्थापन त्रिविले पनि गर्ने सहमति भएको थियो । त्रिविका आंगिक क्याम्पसमा करिब दुई हजार आंशिक प्राध्यापक छन् । सरकारले २०६४ सालमा २०६२ भन्दाअघिका कक्षाअनुसार पारिश्रमिक लिने आंशिक प्राध्यापकलाई मासिक करारमा नियुक्ति गरेको थियो । त्यही नजिरअनुसार अहिले पनि करारमा नियुक्त गर्न दबाब दिइएको हो । आंशिक प्राध्यापकको समस्या कायमै रहेका बेला सेवा आयोगले खुला विज्ञापन गरेकाले त्यहाँ पनि तालाबन्दी गरिएको कोइरालाले बताए ।
त्रिविमा कक्षाअनुसार पारिश्रमिक दिने गरी राखिएका १४ वर्षदेखिका आंशिक प्राध्यापक छन् । प्रतिपिरियड ३ सय रुपैयाँका दरले अध्यापन गराउने उनीहरूले मासिक पारिश्रमिक दिने गरी करारमा नियुक्तिको माग अघि सारेका हुन् । त्रिविले प्राध्यापकहरूबीच नै विभेद र आंशिक प्राध्यापकलाई शोषण गर्दै आएको उनीहरूको गुनासो छ । उमेर हदका कारण निवृत्त, लामो समय अध्ययन बिदामा बसेका र विभिन्न स्थानमा नियुक्तिमा रहेका स्थायी प्राध्यापकको सट्टामा अध्यापन गराउन आंशिक प्राध्यापक राख्ने गरिएको छ । त्रिवि कार्यकारी परिषद्ले २०७४ वैशाखमै दरबन्दी थप्ने निर्णय गरेकामा स्वीकृतिका लागि शिक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालय पठाइएको थियो । अर्थले आर्थिक भार बढ्ने भन्दै स्वीकृति नदिँदा दरबन्दी थप हुन नसकेको विश्वविद्यालयका पदाधिकारी बताउँछन् ।
त्रिविअन्तर्गतको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । नेविसंघका एकाइ अध्यक्ष बबिन बस्नेतले तोकिएकै समयमा नतिजा प्रकाशन गर्नुपर्ने, प्रश्नपत्रमा हुने त्रुटि हटाउनुपर्ने, पुस्तकालय, कक्षाकोठा र प्रयोगशालाको अवस्था सुधार गर्न र पूर्वसहमति कार्यान्वयन गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर अध्ययन संस्थानमा तालाबन्दी गरेको जानकारी दिए । संस्थानको डिन कार्यालयमा गत चैत ३१ देखि तालाबन्दी गरिएको हो । सांकेतिक रूपमा तालाबन्दी गरिए पनि माग पूरा गराउन डिनले अग्रसरता नदेखाएको बस्नेतले गुनासो गरे ।
अखिल क्रान्तिकारीले भने आर्थिक अनियमितता छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्न माग राख्दै गत
साउन ५ गतेदेखि पशुपति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको हो ।

समाचार

कल्याणकारी कोषको ६० अर्ब लगानी गर्न खोज्दै सेना

- जगदीश्वर पाण्डे

(काठमाडौं) - नेपाली सेनाले ‘सैनिक कल्याणकारी कोष’ मा जम्मा भएको झन्डै ६० अर्ब रुपैयाँ लगानी गर्ने चाहना व्यक्त गरेको छ । कल्याणकारी योजना निर्देशनालयले सैनिक ऐन, २०६३ लाई लगानीमैत्री बनाउन गृहकार्य अघि बढाइएको जनाएको छ । निर्देशनालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्राड (कानुन) विवाकका प्रमुख उपरथी रत्नप्रकाश थापाले सैनिक ऐनले हालको अवस्थामा लगानी गर्न नपाउने स्पष्ट भनेकाले कोषको रकम लगानी गर्न कानुनमा परिमार्जन गर्नुपर्ने बताए ।
सेनाले यस विषयमा चासो राखेको यो पहिलोपटक भने होइन । सेनाले दशकअघि नै कल्याणकारी कोषको रकम प्रवर्द्धकका रूपमा लगानी गर्न पाउनुपर्ने भन्दै गृहकार्य अघि बढाउन खोजे पनि सरकारी र निजी क्षेत्रबाट आलोचना भएपछि रोकिएको थियो । प्राड विवाकका प्रमुख उपरथी थापाले सैनिक ऐनलाई लगानी प्रवर्द्धनमा सहज हुने गरी परिमार्जन गर्ने सम्बन्धमा छलफल भइरहेको तर कसरी अघि बढ्नेबारे टुंगो लागिनसकेको प्रस्ट पारे । ‘सेनाको कल्याणकारी कोषको रकमलाई सबै क्षेत्रमा लगानी गर्न मिल्ने गरी अघि बढाउने भन्ने पनि होइन, बीचको बाटो अपनाएर कसरी अघि बढ्न सकिन्छ भन्ने हो,’ उनले भने, ‘सरकारको अभिभावकत्व हुने गरी मध्यम बाटोबाट सेनाले लगानी गर्न मिल्ने सम्बन्धमा छलफल गरिरहेका छौं । अहिले नै कुनै प्रस्ताव अघि बढाएका छैनौं ।’ उनले यसअघिको सरकारसँग यस विषयमा छलफल भएको उल्लेख गर्दै नयाँ सरकार आएपछि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा संगठनभित्र फेरि छलफल गरिने बताए ।
सुरक्षा मामिला जानकार इन्द्र अधिकारीले सेनाले कल्याणकारी कोषको रकम लगानी गर्न खोज्नुलाई दुई पक्षबाट हेर्नुपर्ने बताइन् । ‘पहिलो, लगानीका लागि विदेशीलाई नेपालमा पनि बोलाइराख्दा आफ्नै देशको एउटा संगठनको पैसा किन प्रयोग नगर्ने भन्ने हो तर सेनाको कुनै पनि कुरामा लगानी गर्ने भन्ने होइन,’ उनले भनिन्, ‘दोस्रो, सेनाको मुख्य भूमिका शान्तिसुरक्षा हो ।
आफ्नो कल्याणकारी कोषको रकम लगानी गर्न सेना कर्पोरेट संस्था होइन । कोषको मर्म पनि लगानी बढाउने र फाइदा गर्ने होइन ।’ भौतिक पूर्वाधार क्षेत्रमा सेनाले लगानी गर्दा उसैलाई अप्ठ्यारो पर्न सक्ने भएकाले विवादमा आउने काम गर्न नहुने उनले बताइन् ।
दशकअघि नै सेनाले विभिन्न समयमा आन्तरिक रूपमा कार्यदल गठन गरी सैनिक ऐनको संशोधन मस्यौदा प्रस्ताव गरेको थियो । ओली सरकारका पालामा पनि सेनाले मस्यौदा रक्षा मन्त्रालयमा पठाएको थियो । मस्यौदामा सेनाले सरकारको स्वीकृतिमा ठूला आयोजनामा प्रवर्द्धकका रूपमा लगानी गर्न पाउने प्रावधान छ । सेनाले लामो गृहकार्यपछि अघि बढाएको उक्त प्रस्तावलाई तत्कालीन सरकारले चासो नदिएपछि त्यत्तिकै थन्किएको थियो ।
२०३२ सालमा नेपाली सेना संयुक्त राष्ट्रसंघको
आह्वानमा शान्तिसेनामा सहभागी भएबापत प्राप्त १ करोड २४ लाख १ हजार रुपैयाँबाट सुरु गरिएको ‘सैनिक कल्याणकारी कोष’ मा २०७८ असार मसान्तसम्म नगद र सम्पत्ति गरी ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ । सेनासँग अहिले विभिन्न वर्गका बैंकहरूमा ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात छ । शान्तिसेना गएका एक सैनिकले मासिक रूपमा १४ सय २८ डलर पाउँछन् । त्यसको २२ प्रतिशत रकम कोषमा जम्मा गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले भने ।
सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति प्रधानसेनापतिको अध्यक्षतामा ७ सदस्यीय हुन्छ, जसमा संरक्षक (प्रधानमन्त्री) बहालवाला र भूतपूर्व सैनिक अधिकृतमध्येबाट मनोनीत दुई जना, प्रधानसेनापतिबाट बहालवाला र भूतपूर्व सैनिक अधिकृतमध्येबाट मनोनीत दुई जना तथा अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव एक/एक जना हुन्छन् । कोषको संरक्षकमा प्रधानमन्त्री र सहसंरक्षकमा रक्षामन्त्री रहने व्यवस्था छ । उक्त समितिमा कल्याणकारी कोषका रकमलाई कसरी लगानी गर्ने भन्नेबारे विगत चार वर्षदेखि पटक–पटक छलफल भए पनि निचोडमा पुग्न सकेको छैन ।
सैनिकले दिएको रकम र विभिन्न बैंक तथा कल्याणकारी कोषमार्फत भएका कार्यबाट प्राप्त रकमलाई पनि कोषमै राख्ने गरिएको छ । सामान्य ब्याजमात्र आउने र कोषमा जम्मा भएको ठूलो रकम लगानी गर्न नपाउँदा अपेक्षा गरेअनुसार नबढ्ने सेनाको गुनासो छ ।
कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागर केसीले कोषद्वारा बहालवाला तथा भूतपूर्व सैनिकलाई सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बताए । कोषमा रकम बढी भएपछि सेनाले पछिल्लो समय मनाङको भीमदाङ जलविद्युत् आयोजना, सोलुखुम्बुको दूधखोला जलविद्युत् आयोजना र रोल्पाको माडी जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने योजना बनाएको थियो तर ऐनका कारण लगानी गर्न पाएन । पूर्वअर्थ सचिव शान्तराज सुवेदीले विशुद्ध सैनिकहरूको कोष भएकाले यसले विधि र प्रक्रियाअनुसार काम भइरहेको छ वा छैन हेर्नुपर्ने बताए । कोष हरेक वर्ष बढिरहेको र यसलाई सरकारले सही तरिकाबाट प्रयोग गर्न सकिने उनको भनाइ छ । उनले नागरिक लगानी कोष, सञ्चय कोष, प्रहरीको कल्याणकारी कोष, सैनिक कल्याणकारी कोषलगायतबाट सेयर वा रकम हालेर ठूलो विकास निर्माणका आयोजना बनाउन सकिने सुझाव दिए । ‘हामी ठूला आयोजना निर्माणका लागि वैदेशिक सहायतामा भर पर्छौं तर विदेशबाट पैसा आउन सहज छैन,’ उनले भने, ‘यस्तो अवस्थामा स्वदेशमै थन्किएर रहेको रकमलाई प्रयोग गर्न सक्छौं ।’ उनले अब नयाँ मोडलमा गएर विकास निर्माण गर्नुपर्ने बताए । ‘नयाँ मोडलअनुसार मुलुकको विकास निर्माण पनि हुन्छ । पैसा बैंकमा राखेर ब्याज खानुभन्दा लगानी गर्दा रकम पनि बढ्छ,’ उनले भने ।

समाचार

प्रधानसेनापति–भारतीय सेनाध्यक्ष संवाद

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच शुक्रबार टेलिफोन संवाद भएको छ । द्विपक्षीय सुरक्षा सहकार्यका विषयमा कुराकानी भएको भारतीय सेनाले
ट्वीटरमार्फत जानकारी दिएको छ । नेपाली सैनिक स्रोतले भने दुई मुलुकबीचको सुरक्षा सहकार्यका साथै अवकाश लिनुअघि थापाले भारतीय समकक्षीसँग संवाद गरेको जनाएको छ ।
थापा अवकाशको एक महिनाअघि नियमित बिदामा बस्न लागेका छन् । भदौ २४ देखि उनले अनिवार्य अवकाश पाउँदै छन् । दुई मुलुकको परम्पराअनुसार थापा र नरवणे एक–अर्का देशको सेनाका मानार्थ महारथी हुन् ।

समाचार

बेपत्ता बालबालिका मृत फेला

- कान्तिपुर संवाददाता

जनकपुर/महोत्तरी (कास)– धनुषा र महोत्तरीमा घरबाटै हराएका दुई बालबालिका मृत फेला परेका छन् । दुवैको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
सोमबारदेखि हराएकी धनुषाकी ६ वर्षीया बालिकाको शव इनारमा फेला परेको छ । गणेशमान चारनाथ नगरपालिका–१० बरमझियाका वीरेन्द्र यादवकी ६ वर्षीया छोरी प्रीति घरनजिकैको पसलबाट फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको घरदेखि ५ सय मिटरको दूरीमा इनार पर्छ । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले जनाए ।
महोत्तरीको रामगोपालपुर नगरपालिका ५ विषमपुरका ५ वर्षीय रितेश यादव पनि मृत फेला परेका छन् । महोत्तरी प्रहरीका अनुसार बुधबार साँझ उनी घरबाट हराएका थिए । भोलिपल्ट घरदेखि ४० मिटर पर फलफूल बगैँचाभित्र बालकको शव फेला पारिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । प्रहरीका अनुसार रितेश बुधबार साँझ सौतेनी आमासँगै घरबाट निस्किएका थिए । राति अबेलासम्म घर नआएपछि परिवारले उनको खोजी थालेको थियो । बालकको शव फेला परेपछि बुबा चन्द्रकिशोर र सौतेनी आमा फरार भएका थिए । बिहीबार नै प्रहरीले उनीहरूलाई पक्राउ गरेको एसपी आचार्यले जानकारी दिए ।

समाचार

होटलमा भेटियो २ सय डोज खोप

- कान्तिपुर संवाददाता


काँकडभिट्टा (कास)– झापाको बिर्तामोडस्थित एक होटलमा कोरोनाविरुद्धको खोप फेला परेको छ । टाइमलेस मुभमेन्ट होटलको काउन्टरबाट २ सय डोज भेरोसेल (सय भाइल) खोप प्रहरीले बरामद गरेको हो ।
बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार होटलमा खोप राखेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खड्काले केही दिनयता आफूनिकट व्यक्तिहरूलाई होटलमै बोलाएर खोप लगाउने गरेको सूचनाका आधारमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले प्रहरीलाई खबर गरेपछि खोपसहित खड्का पक्राउ परेका हुन् । प्रत्यक्षदर्शीका अनुसार खड्काले स्वास्थ्य कार्यालयको गाडीमा खोप ल्याएका थिए । जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले खड्कालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको हिरासतमा राखिएको बताए । खड्काले भने आफू होटल क्वारेन्टाइनमा बस्दै आएकाले स्वास्थ्य कार्यालय झापाबाट पठाएको खोप आफूले बुझेर होटलमा राखेको दाबी गरेका छन् ।

समाचार

मदन पुरस्कार श्रेष्ठ सूचीमा ९ पुस्तक

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’ का लागि श्रेष्ठ सूचीमा ९ पुस्तक छनोट गरेको छ । गुठीलाई प्राप्त २ सय २२ पुस्तकबाट श्रेष्ठ सूची तयार गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन् । उनका अनुसार बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (संवत् १७१९–२०२०) लाई श्रेष्ठ सूचीमा राखेको हो । यीमध्ये एउटालाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार दिइने छ ।

समाचार

फ्रन्टलाइनरलाई बारबरा फाउन्डेसनको सम्मान

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कोभिड–१९ महामारीमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई यस वर्षको बारबरा फाउन्डेसन सम्मान र पुरस्कार प्रदान गरिने भएको छ । फाउन्डेसनले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार कोभिड महामारीविरुद्धको लडाइँमा अग्रणी भूमिका निर्वाह गरेका भरतपुर, पाटन, नेपाल प्रहरी र नेपाल एपीएफ अस्पताल, नेपाल एम्बुलेन्स सेवा, हामी नेपाल र नेपाली सेना मृत शरीर व्यवस्थापन समूहलाई संस्थागततर्फ विशिष्ट सम्मान प्रदान गरिने भएको छ । चिकित्सक विधातर्फ २० जना चिकित्सक २ लाख ५० हजार र २ लाख रुपैयाँको पुरस्कार प्रदान गरिनेछ । नर्सिङ विधामा २७ नर्सलाई १ लाख २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिँदै छ । मेडिकल सपोर्टतर्फ ल्याब र प्यारा–मेडिकल क्षेत्रमा योगदान गर्ने ९ जनालाई जनही १ लाख नगदका दरले पुरस्कृत गरिनेछ । स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई पुरस्कार दिइने विज्ञप्तिमा उल्लेख छ । यो पुरस्कारको राशि १ लाख छ । उत्कृष्ट व्यवस्थापन, सार्वजनिक नीति विधामा विभिन्न अस्पतालका १९ जना विभागीय प्रमुखलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ । तीमध्ये ३ जनालाई
जनही नगद २ लाख ५० हजारसहित पुरस्कार दिइने र अन्यलाई सम्मान गरिने फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले बताए ।

Page 4
समाचार

३७७ कैदीबन्दीलाई कोरोना

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना भाइरस संक्रमण देखिएपछि उनीहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर राख्न समस्या भएको छ । कारागारको ‘क’ र ‘ख’ ब्लकमा रहेका ९ सय ६९ जना कैदीबन्दीसहित कर्मचारी र सुरक्षाकर्मीको बुधबार र बिहीबार एन्टिजेन परीक्षण गर्दा आधाजसोमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई हाल कारागारभित्रै छुट्टै स्थानमा राखिएको छ । यस्तै, भीमफेदीस्थित बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार

चैतसम्म सबैलाई खोप !

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सरकारले आठ महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालसम्म ९७ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भइसकेको र असोज मसान्तभित्र थप ८६ लाख मात्रा प्राप्त हुने जनाएको छ । ५४ लाख १ हजार ६ सय ८६ जनाले खोप लगाइसकेका छन् ।
कोभ्याक्स सुविधाको १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैतसम्म सबै खोपको पहुँचमा पुग्ने मन्त्रालयले जनाएको छ । १२ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीलाई अमेरिकाबाट फाइजर खोप
खरिद गरेर लगाउने योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले कोभ्याक्सबाट लागत सहभागितामा १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप खरिद प्रक्रिया सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको जनाएको छ । ‘गाभी कोभ्याक्सबाट २० प्रतिशत जनसंख्याका लागि निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीको पहुँचमा पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतको कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जान्सेन ल्याइएकामा १६ लाख २१ हजार ७ सय ५४ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । पहिलो डोज मात्रै लगाउने ३७ लाख ७९ हजार ९ सय ३२ जना छन् । १८ लाख २८ हजार ४ सय ८४ जना भने कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन् । भारतको सिरम इन्स्टिच्युटबाट २० लाख खोप खरिद गर्न सरकारले अग्रिम भुक्तानी दिए पनि १० लाख डोज खोप अझै आएको छैन । स्वास्थ्य मन्त्रालयले यो खोप असोज मसान्तसम्म आइसक्ने दाबी गरेको छ ।
सरकारले चीनको सिनोफार्मबाट खरिद गरेको ४० लाख डोज खोप पनि आइसकेको छ । थप ६० लाख खोप खरिदको सम्झौता अघि बढेको मन्त्रालयले जनाएको छ । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा १६ लाख डोज खोप दिने मन्त्रालयले जनाएको छ । असोज मसान्तभित्र प्राप्त खोपको डोज संख्या १ करोड ८३ लाख ८२ हजार ८ सय ५० पुग्ने मन्त्रालयको आकलन छ ।

 

Page 5
अर्थ वाणिज्य

मध्य सहरमा शाकाहारी होमस्टे

- विमल खतिवडा

(काठमाडौं) - सबैतिर कंक्रिटै कंक्रिटले बनेका भवन । पाइलैपिच्छे जसो होटल, रेस्टुराँ अनि क्याफे । काठमाडौं सहरको एउटा परिचय हो यो । यही भीडमा, यही सहरमा शाकाहारी होमस्टे छ भन्दा तपाईंलाई अचम्म लाग्ला । त्यो पनि काठमाडौंको केन्द्रभागमै । बत्तीसपुतलीमा ।
सहरको कोलाहलले दिक्क भएका अनि एकान्तको खोजीमा रहेकाहरूलाई शाकाहारी स्वाद दिलाउन श्रीकुञ्ज होमस्टे खोलिएको हो । बत्तीसपुतलीस्थित द्वारिका होटल अगाडि रहेको पेट्रोल पम्प छेउको बाटो भएर यहाँ पुग्न सकिन्छ । भित्र पस्नासाथ ७८ प्रजातिका विभिन्न फलफूल रहेको बगैंचाले जोकसैलाई मोहित बनाउँछ ।
१५ आना जग्गामा फैलिएको होमस्टे हरियालीमय छ, जहाँ आवासीय सुविधासहित बस्नेहरूले शान्ति महसुस गर्छन् । मध्यसहरमा शाकाहारी होमस्टे खोल्ने अवधारणा ल्याउने व्यक्ति हुन्, संस्कृतिविद् गोविन्द टण्डन । ६८ वर्षमा हिँडिरहेका उनले आफ्नै घरमा होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
तीन वर्षअघि रातोपुलस्थित नयाँ घर सर्दाताका उनलाई आफ्नो पुरानो घर के गर्ने भन्ने अन्योल थियो– भाडामा दिने कि अरू नै केही रचनात्मक काममा लगाउने । तर उनलाई भाडामा दिन मन लागेन । ‘बुबा पनि माछामासु नखाने, म पनि नखाने, जसले गर्दा घर मन्दिर जस्तै थियो,’ उनले भने, ‘भाडामा लगाउन मन लागेन । त्यसैले फरक खालको अवधारणाका रूपमा शाकाहारी होमस्टे खोल्ने निधोमा पुगें ।’
२०७६ चैतमा सबै तयारी सकेर उनले होमस्टे सुरु गरे । तर चल्दाचल्दै एक महिनामा कोभिडका कारण लकडाउन भयो, जसले गर्दा लामो समय बन्द हुन पुग्यो । अहिले स्वास्थ्य सावधानी अपनाएर होमस्टे पुनः सञ्चालन गरिएको छ । होमस्टेसँगै टण्डनले ‘भेगन क्याफे’ पनि सुरु गर्दै छन् । ‘काठमाडौं बाहिर जाँदा मासु नखाने भएपछि होटलमा बस्न निकै गाह्रो भयो,’ उनले भने, ‘त्यसैले अरूलाई यस्तो समस्या नहोस् भनेर शाकाहारीलाई नै लक्ष्य गरी होमस्टे सुरु गरेको हुँ ।’ साढे दुईतले घरमा पाँच कोठा छन्, तिनै कोठालाई होमस्टे बनाइएको छ ।
‘तीर्थयात्री, एकान्त खोजेर लेखपढ गर्न चाहने र कुनै अध्ययन/अनुसन्धान गर्न चाहनेहरू यहाँ आउँछन्,’ टण्डनले भने, ‘कोलाहलले आजित भएकाहरूलाई सहरभित्रै शान्त वातावरण चाहिए यो उपयुक्त हुन सक्छ ।’ आफैं पकाएर खानका लागि ग्यासचुलोसहित भान्साको व्यवस्था छ । होमस्टेमै पकाको खाने भए पनि कुकको व्यवस्था छ । बिहान ब्रेड एन्ड ब्रेक फास्ट, फलफूल र जुसको व्यवस्था छ ।’
‘यहाँको विशेषता पिज्जा होइन,’ उनले भने, ‘गुन्द्रुक, तामाको झोल र क्वाँटी हो ।’ स्वदेशी एवम् विदेशी पाहुनाले यो सुविधा लिन सक्ने उनले जानकारी दिए । ‘नेपालमा होमस्टे नचलेको होइन, धेरै छन्,’ टण्डनले भने, ‘तर, शाकाहारीलाई लक्ष्य गरेर खोलेको मैले अन्यत्र पाएको छैन ।’ यसलाई नमुना मानेर तीन वर्षभित्र दुई सय विभिन्न पर्यटकीय ठाउँमा शाकाहारी होमस्टे खोल्न प्रवर्द्धन गरिने उनको भनाइ छ ।
‘होमस्टेका म्यानेजर विकेश श्रेष्ठ पशुपन्छीप्रति निर्दयता रोकावट समाज नेपालको अध्यक्ष हुनुहुन्छ,’ टण्डनले भने, ‘उहाँलाई यसमा केही गरौं भन्ने छ । मलाई पनि यसबाट दुई/चार पैसा कमाएर घर व्यवहार गरौंला भन्ने छैन ।’ होमस्टेमा पाँच जनाले रोजगारी पाएका छन् । त्यस्तै बाँकी रहेको आम्दानी मानव सेवा आश्रम र पशुपन्छीको कल्याणमा खर्च गरिने टण्डनले जानकारी दिए ।
होमस्टे परिसरमा जापानी हलुवाबेद, कालो र सेतो जामुन, एभोकाडो र भोगटेका बोट रहेको म्यानेजर श्रेष्ठले बताए । पाहुनाले पनि तिनको स्वाद लिन पाउनेछन् । शाकाहारी भोजनसहित होमस्टेमा बिहेवारी गर्न आउनेहरूका लागि पनि त्यसको व्यवस्था गरिएको छ । ‘होमस्टेबाट हामीले नेपाली खानाको प्रवर्द्धन गर्न खोजेका हौं,’ टण्डनले भने, ‘शाकाहारी भोजन कसरी बनाउने भन्ने थाहा नपाउने युवापुस्तालाई तालिम दिने तयारी पनि गरिरहेका छौं ।’ होटल व्यवस्थापन पढेका विद्यार्थीका लागि इन्टर्नसिप गर्न समस्या हुने भए यहाँ आएर गर्न सक्ने उनको भनाइ छ । त्यसबापत निश्चित पारिश्रमिक दिइने टण्डनले बताए । होमस्टेमा डबल बेडको रुमको एक दिनको शुल्क ३ हजार ५ सय र सिंगल रुमको २ हजार रुपैयाँ तोकिएको छ । अहिले होमस्टेमा म्यानेजर, कुक, हाउसकिपिङ, गार्डेनर र गार्ड छन् ।
अहिलेसम्म शाकाहारी होमस्टे सञ्चालनमा रहेको आफूलाई पत्तो नभएको होमस्टे एसोसिएसनका महासचिव प्रेमशंकर मर्दनियाको भनाइ छ । ‘पहिलो चरणको कोभिडसँगै लकडाउन हुनुअघिसम्म देशभर १ हजार हाराहारीमा होमस्टे थिए,’ उनले भने, ‘त्यसपछि कति चले, कति बन्द भए, यकिन छैन । तर, यो भीडमा शाकाहारी होमस्टे कतै भए जस्तो लागेन, यो नयाँ हुन सक्छ ।’ नगरपालिका, गाउँपालिकामा सञ्चालन अनुमति लिएर होमस्टे चलाउने गरिएको छ । ‘होमस्टेहरूले धेरै राम्रो गरेका छन्,’ उनले भने, ‘बेरोजगारले रोजगारी पाएका छन्, आफ्नै ठाउँको स्रोतसाधन प्रयोग भएको छ, ओझेल परेका ठाउँको प्रचारप्रसार पनि भएको छ ।’

अर्थ वाणिज्य

‘तोकिएकै समयमा फास्ट ट्र्याक निर्माण’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण तोकिएकै समयमा सक्ने नेपाली सेनाले जनाएको छ । २०८१ मंसिरभित्र आयोजना सम्पन्न हुने आयोजना प्रमुख विकास पोखरेलको दाबी छ । ‘खोकनाको जग्गा विवाद २०७९ वैशाखसम्म सकिन्छ भन्ने विश्वास छ,’ काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर यसबीचमा अन्य खण्डमा कामको रफ्तार भने बढिरहनेछ ।’ अहिलेसम्म आयोजनाको भौतिक प्रगति १६ दशमलव १० प्रतिशत छ ।
अहिले आयोजनाको मुख्य काम भनेको सुरुङ र पुल निर्माण हो । सुरुङको ठेक्का भएर डिजाइनको काम अघि बढाइएको छ । पुलको ठेक्का भने भएको छैन । पहिलो प्याकेजको सुरुङ निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको प्राविधिक टोली डिजाइजनका लागि नेपाल आइसकेको छ ।
कोरोना संक्रमणको जोखिम रहेकाले २३ जनाको प्राविधिक टोली पीपीई लगाएर चार्टर्ड फ्लाइटमार्फत मंगलबार राति काठमाडौं उत्रिएको हो । सबै प्राविधिकको पीसीआर परीक्षण गरेर संक्रमण नभएको पुष्टि भएपछि मात्रै फिल्डमा पठाइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
दोस्रो प्याकेजको ठेक्का पाएको पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीका १४ जना प्राविधिक टोली डिजाइनको काम गर्न भन्दै गत असार ९ मै नेपाल आइसकेका छन् । ‘यो टोलीले काम थालिसकेको छ,’ प्रवक्ता पौडेलले भने, ‘दुवै कम्पनीका प्राविधिक टोली आइसकेकाले अब कामले गति लिनेछ ।’ सुरुङ निर्माणको काम सुरु भएपछि प्रगति बढ्दै जाने उनले दाबी गरे ।
अहिलेको टोलीमा अफिस म्यानेजर, सुरुङ इन्जिनियर, सडक र पुल निर्माणसम्बन्धी इन्जिनियर सम्मिलित छन् । ठेक्का सम्झौताअनुसार पहिलो ६ महिनामा सुरुङ डिजाइनको काम सक्नुपर्नेछ । सुरुङ ईपीसी (इन्जिनियरिङ प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सर्भे र डिजाइनको काम निर्माण कम्पनी आफैंले गर्नुपर्छ । गत वैशाख ३१ मा ठेक्का सम्झौता भएको हो । पोली
चङ्दाले धेद्रेदेखि लेनडाँडासम्मको ३.०३ किमि सुरुङ निर्माण गर्न २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का पाएको छ । दोस्रो प्याकेजमा पूर्वयोग्यता परीक्षण (पीक्यू) प्रक्रियामा एउटा मात्र कम्पनी छनोट भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो । जसको विवाद नटुंगिँदै सेनाले ठेक्का प्रक्रिया अघि बढाएको हो ।
पहिलो प्याकेजमा चाइना स्टेटले भने छोक्रेडाँडादेखि धेद्रेसम्मको ३.३५५ किमि लामो सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । २०८०/८१ भित्र आयोजना सम्पन्न गर्नुपर्नेछ । दुवै प्याकेजमा ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको हो । कोरोनाको जोखिम कायमै रहे पनि स्वास्थ्य सावधानी अपनाउँदै काम निरन्तर भइरहेको प्रवक्ता पौडेलले बताए । सेनाले यो आयोजना निर्माण व्यवस्थापनको जिम्मा २०७४ जेठमा लिएको हो । ७२.५ किमि लामो यो सडकमा १०.५९ किमि लामा ८७ वटा पुल बन्नेछन् ।

अर्थ वाणिज्य

६९ वर्षयताकै कम पर्यटक

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– विदेशी पर्यटकका लागि नेपाल खुला गरिएको ६९ वर्षयता सन् २०२० मा विदेशी पर्यटकको आगमन ८० प्रतिशत घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘नेपालको पर्यटन तथ्यांक २०२०’ अनुसार कोभिड संक्रमणका कारण गत वर्ष २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल आए । यो सन् २०१९ को तुलनामा ८० दशमलव ७ प्रतिशत कम हो ।
हवाई मार्ग तथा स्थल मार्ग हुँदै सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी नेपाल आएका थिए । नेपाल विदेशी पर्यटकका लागि सन् १९५१ देखि खुला गरिएको थियो । अघिल्लो वर्षको जसरी यसअघिका कुनै पनि वर्ष पर्यटन आगमनमा गिरावट नआएको मन्त्रालयले जनाएको छ ।
नेपालले विदेशी पर्यटकको रेकर्ड सन् १९६४ देखि राख्न थालेको हो । त्यस वर्ष ९ हजार ५ सय २६ जना विदेशी नेपाल घुम्न आएका थिए । यो त्यसअघिको वर्षको दाँजोमा ३० प्रतिशतले वृद्धि थियो ।
पछिल्लोपटक नेपालमा सन् २०१५ मा ३२ प्रतिशत पर्यटक आगमन घटेको थियो । ‘सन् २०२० मा नेपाल करिब बन्द थियो, अनलाइन भिसा रोकिएका थिए, त्यस्तो बेला १० दिने क्वारेन्टाइन बस्न इच्छुक हुँदै नेपाल आउने विदेशीको संख्या २ लाख पुग्नुले नेपालमा पर्यटकको सम्भावनाको संकेत गर्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले भने । सन् २०२० मा नेपालले विदेशी पर्यटक आगमनबाट २५ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो वर्षको दाँजोमा ७० प्रतिशत कम हो । सन् २०२० मा सर्वाधिक पर्यटक आगमन भएका मुलुकमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र संयुक्त राज्य अमेरिका प्रमुख थिए । पर्यटक ल्याउने प्रमुख ५ वायुसेवामा नेपाल वायुसेवा निगम, कतार एयरवेज, हिमालय एयरलायन्स, फलाई दुबई र एयर अरेबिया थिए । गत वर्ष १० हजार २ सय ५६ वटा अन्तर्राष्ट्रिय उडान (आउने/जाने) भए । अघिल्लो वर्षको तुलनामा यो ६८ प्रतिशत कम हो ।

अर्थ वाणिज्य

अप्टिकल फाइबरको कामै सुरु भएन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– दुई वर्षभित्र सक्ने लक्ष्यसहित सुरु गरिएको अप्टिकल फाइबर बिछ्याउने परियोजनाको प्रगति सवा दुई वर्ष बित्दा पनि आधा मात्रै भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ग्रामीण दूरसञ्चार कोषको रकमबाट सुरु गरिएका तीनवटा प्याकेजमध्ये एउटाको मात्रै काम अघि बढेको छ ।
तीन प्याकेजमध्ये नेपाल टेलिकमले पाएको करिब ५ अर्ब लागतको प्रदेश १, प्रदेश २ र वाग्मतीका जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछ्याउने पहिलो प्याकेजको मात्रै भौतिक प्रगति भएको छ । असार मसान्तसम्म यो परियोजनाको भौतिक प्रगति ४६ प्रतिशत रहेको प्राधिकरणले जानकारी दिएको छ । सम्झौतामा टेलिकमले गत वैशाखमै परियोजना सक्नुपर्ने हो तर कोरोना महामारीका कारण काम प्रभावित भएपछि परियोजनाको अवधि ६ महिना थपिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।
पहिलो प्याकेजअन्तर्गत २ हजार ८३ किलोमिटर अप्टिकल फाइबर
बिछ्याउनुपर्ने भए पनि हालसम्म १ हजार ६ किलोमिटर मात्रै काम भएको छ । टेलिकमले पाएको यो प्याकेज विभिन्न ५ वटा ठेकेदारलाई परिचालन गरी काम भइरहेको छ ।
दोस्रो प्याकेजमा गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला सदरमुकाम जोड्ने गरी २ हजार १ सय ६० किमि अप्टिकल फाइबर बिछ्याउनुपर्ने थियो । तर यो प्याकेज अलपत्र छ । उक्त प्याकेजको जिम्मा पाएको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले काम सुरु नगरेपछि प्राधिकरणले परियोजनाको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । तर प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको यूटीएलको पक्षमा अन्तरिम आदेश दिँदै अदालतले अर्को निर्णय नहुन्जेल रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्चमा मुद्दा विचाराधीन हुँदा यो परियोजना अलपत्र बनेको हो ।कर्णाली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ किमि अप्टिकल फाइबर बिछ्याउने तेस्रो प्याकेजको काम भने टेन्डरको प्रक्रिया रहेको प्राधिकरणले जनाएको छ । सुरुमा स्मार्ट टेलिकमले पाएको यो परियोजना मन्त्रिपरिषद्को निर्णयपछि नेपाल टेलिकमलाई हस्तान्तरण गरिएको थियो । स्मार्टले सम्झौताअनुसार काम गर्न नसकेपछि नेपाल टेलिकमलाई जिम्मा दिइएको हो ।
देशभर अप्टिकल फाइबर नेटवर्क पुर्‍याउने उद्देश्यले प्राधिकरणले यो परियोजना अघि बढाएको हो । कोषको रकम परिचालन गरी निर्माण हुने अप्टिकल फाइबर नेटवर्क सम्बन्धित सेवा प्रदायकले अन्य सेवा प्रदायकलाई पनि प्रयोग गर्न दिनुपर्ने सर्त छ ।

 

Page 6
खेलकुद

भाग्य, नतिजा र जुत्ता

- राजु घिसिङ

(टोकियो) - गृष्मकालीन ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सबै सदस्य देशका खेलाडीले एथलेटिक्स र पौडीमा प्रतिस्पर्धा गर्न पाउँछन् । कम्तीमा एक खेलाडी एथलेटिक्समा छनोटबिना (अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने छनोट प्रतियोगिता) नै ओलम्पियन बन्न पाउँछन् । त्यसैका लागि नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले नेपालगन्ज म्यथाराथन (मंसिर २०७७) लाई टोकियो ओलम्पिकको छनोटका स्पर्धाका रूमा लिएको थियो । त्यसको विजेता भएपछि गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गर्ने घोषणा गरिदिए । तर, गोपी स्वदेशमै रोकिए । त्यो विश्वव्यापी सहभागिताको कोटामा टोकियो उडान भर्ने भाग्यमानी भइन् धाविका सरस्वती चौधरी ।
नेपाली सेनाकी स्प्रिन्टर सरस्वतीले ओलम्पिक खेल्ने जानकारी पाएको एक महिना पनि भएको छैन । टोकियोस्थित ओलम्पिक रंगशालाको ट्र्याकमा उत्रिनुपर्‍यो । यसबीच उनका प्रशिक्षक इन्द्राकुमारी मल्ल कोभिड–१९ संक्रमणको कारण स्वदेशमै
अड्किइन् । आइतबारमात्रै टोकियो आइपुगेकी सरस्वतीले ओलम्पिक ट्र्याकमा दौडन पाउने विशेष किसिमको जुत्ता ‘स्पाइक सुज’ लगाएर अभ्यास गर्न त के देख्न पनि पाएकी थिइनन् । ओलम्पिक मापदण्डमा पर्ने स्पाइक सुज टोकियोमै आएर प्राप्त गरिन् । अभ्यास गर्ने अवसर टाढाकै कुरा भयो ।
अहिलेकी सबैभन्दा तेज गतिकी नेपाली महिलालाई एथलेटिक्स संघ, ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्ले जस्तो सुविधा दिएको थियो, ओलम्पिकमा नतिजा पनि त्यस्तै निस्कियो । सरस्वतीले महिला १०० मिटरमा प्रतिस्पर्धा गरिन् । ओलम्पिक खेल्ने सपना साकार पारिन् ।
शुक्रबार बिहानै भएको १०० दौड पूरा गर्दा उनले १२.९१ सेकेन्ड लगाइन्, जुन उनकै आफ्नो उत्कृष्ट समय (१२.५५ सेकेन्ड/१३ औं दक्षिण एसियाली खेलकुद २०१९) भन्दा पनि खराब हो । दशरथ रंगशालामा दुई वर्षअघि व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दा उनी पाँचौं भएकी थिइन् । उनीे विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ (दोहा) मा निकालेको १२.७२ सेकेन्डको नजिक पनि पुगिनन् । देवीमाया पनेरुले २२ वर्षअघि आठौं साफ खेलकुद १९९९ मा बनाएको १२.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान उछिन्ने लक्ष्यमा पुग्नु त टाढाकै कुरा भयो । यो ओलम्पिकमा पहिलो चरणमा पुग्ने समयसँग त तुलना गर्ने अवस्था नै छैन ।
उनको प्रतिस्पर्धामा व्यक्तिगत उत्कृष्ट प्रदर्शनको आधारमा हिट्समा प्रारम्भिक चरण र पहिलो चरणमा विभाजन गरिएको थियो । यसमा उनी प्रारम्भिक चरणको हिट्स २ मा परिन् । प्रारम्भिक चरणको हिट्समा पर्नु भनेकै यो स्पर्धामा कमजोर खेलाडी साबित हुनु हो । प्रारम्भिक चरणका तीन हिट्समा २७ खेलाडीले प्रतिस्पर्धा गरे । यसमा पनि सरस्वती ९ खेलाडीको आफ्नो हिट्समा आठौं भइन् । उनले साउदी अरेबियाका धाविकालाई मात्रै पछाडि परिन् । प्रारम्भिक हिट्सको समग्रमा भने सरस्वती २० औं स्थानमा रहिन् ।
ट्र्याकमा दौडिएको अवस्थामै उनी प्रतिस्पर्धाका लागि फिट थिइन् त भन्नेमा प्रश्न तेर्सिन्छ । प्रश्न उनीसँग मात्रै होइन, सम्बन्धित खेलका तीन निकाय (संघ, परिषद र ओलम्पिक कमिटी) लाई पनि तेर्सिन्छ । किनभने विश्व खेलकुदको कुम्भमा खेलाडीलाई तयार पार्ने काम तिनै संस्थाहरूको हो ।
जुनसुकै खेलाडीको पनि ओलम्पिकमा सहभागी हुने सपना हुन्छ । र, त्यो सपना सरस्वतीमा पनि थियो । ‘यसैपालि ओलम्पिक खेल्ने सपना पूरा गर्न पाएँ,’ २४ वर्षीया उनले भनिन्, ‘तर सोचेजस्तो राम्रो गर्न सकिनँ । अब आउने खेलमा राम्रो तयारी गर्नेछु । उत्कृष्ट प्रदर्शन गर्नेछु ।’
बिदामा घर पुगेकी बेला (१३ असार) मा ‘ओलम्पिक खेल्ने भयौं’ भनेर त्रिभुवन आर्मी क्लबले खबर गरेपछि राजधानी काठमाडौं फर्किएर सरस्वतीले टोकियो यात्राको तयारी थालेकी थिइन् । अन्तिमसम्म फिटनेसमै केन्द्रित अभ्यास गरेकी उनले दशरथ रंगशालाको ट्र्याकमा ओलम्पिक मापदण्डको स्पाइक सुज पनि लगाएर दौड्न पनि पाएकी थिइनन् । अनि कसरी टोकियोमा कीर्तिमान र अर्को चरण पुग्ने छनोट लक्ष्य राख्ने ?
ओलम्पिकको ३२ औं संस्करणमा नेपालका ५ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्ने मौका पाए । जुडोकी सोनिया भट्टको चुनौती महिला ४८ केजीमुनिको स्पर्धामा पहिलो चरण (अन्तिम ३२) मै रुसकी इरिनाविरुद्ध १ मिनेट १६ सेकेन्डमै समाप्त भयो । सरस्वतीको स्पर्धासँगै नेपाली खेलाडीका निम्ति टोकियो ओलम्पिकको यात्रा पनि सातौं दिनमै समाप्त भयो । तीन खेलाडी (कल्पना परियार, अलेक्जेन्डर शाह र गौरिका सिंह) ले आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान ओलम्पिकमा सुधार गरे । यसपालि नेपालको उपलब्धि यही नै रह्यो ।
गौरिका र एलेक्सले पनि सरस्वतीले जस्तै विश्वव्यापी सहभागिता कोटामा ओलम्पिक खेलेका हुन् । उनीहरूले टोकियो अक्वाटिक्स सेन्टरमा आफ्नै कीर्तिमान सुधार गरे, त्यो नै ठूलो मान्नुपर्ने अवस्था रह्यो । कल्पना र सोनिया आमन्त्रित खेलाडी कोटामा ओलम्पियन भएका हुन् । यसमा कल्पनाको कीर्तिमान राम्रै उपलब्धि हो । सोनियाले एक बाउट जित्ने र सरस्वतीले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य हासिल गर्न सकेनन् । यसले उनीहरूको फिटनेससँगै सम्बन्धित निकायतिर प्रश्न तेर्स्याएको छ । र, ओलम्पिकको ५७ वर्षे यात्रामा फेरि एउटा जमघटमा सहभागितामै सीमित हुँदै नेपाली खेलाडीले टोकियोमा बिट मारेका छन् ।

खेलकुद

एन्फामा मतभेद बढ्दो

- हिमेश

(काठमाडौं) - यो विवादको अन्त्य हो वा थप सुरुआत ? नेपाली फुटबलमा सल्केको विवाद र मतभेदपछि उत्पन्न परिस्थितिले खोजेको उत्तर कठिन छ । तर अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा शुक्रबार बसेको कार्यकारी समितिको बैठक नाटकीय र तनावपूर्ण रह्यो । दिउँसो ४ बजे सुरु हुने भनिए पनि केही ढिला भएको बैठकमा पत्रकारलाई एन्फा भवनपरिसरमै प्रवेश दिइएको थिएन । अनि एन्फाका उच्च पदाधिकारी अनिच्छुक हुँदै करकापले मात्र बोल्न तयार भए ।
एन्फा प्रवक्ता किरण राईले सुनाएका चार निर्णय थिए । त्यसमध्ये पहिले नेपाल सरकारलाई धन्यवाद दिइएको थियो । धन्यवाद किनभन्दा अक्टोबर पहिलो साता हुने साफ च्याम्पिनसिप फुटबल नेपालले आयोजना गर्न सरकारले मन्त्रीस्तरीय निर्णयबाट ५ करोड दिन स्वीकृति दिएको छ । दोस्रो निर्णय थियो, सन् २०२२ को वुमेन्स एसिया कप छनोटमा भाग लिने र यसअगाडि इरानलगायतका देशलाई मैत्रीपूर्ण खेलका लागि पत्रचार गर्ने ।
तेस्रो निर्णयअनुसार साफ च्याम्पियनसिप तयारीका लागि नेपालले बंगलादेश, भारत र सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न पत्राचार गर्ने । चौथो र सर्वाधिक महत्त्वको निर्णय थियो, राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा र यसका लागि उनले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाएको आरोपबारे छानबिन गर्न सरकारको युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने । यी चारै निर्णय सामान्य रहे पनि बैठक भने चर्को असामान्य रह्यो ।
परिस्थिति आफैंमा जटिल थियो । बैठक सकिनु अगाडि नै वरिष्ठ उपाध्यक्ष नेम्वाङसँगै दुई उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का तथा सदस्य दावा लामा बाहिर निस्के । चारै जनाको अनुहारमा जति आक्रोश थियो, त्यति निराशा पनि व्यापक देखिन्थ्यो । प्रवक्ता राई ती चारै जनालाई फकाउन व्यस्त देखिए र फेरि बैठकमा सामेल हुन अनुरोध गरिरहेका थिए । तर उनीहरू फर्केनन् । सबैभन्दा पहिले मिडियासामु खड्का प्रस्तुत भए । उनले दाबी थियो, ‘हामी नेपाली फुटबललाई गतिरोध हुन दिन्नौं ।’
यो एक प्रकारको व्यंग्यात्मक अभिव्यक्ति थियो । उनले पछि त्यसबारे थप प्रस्ट पारे, ‘हामीले प्रशिक्षक अल्मुताइरीलाई कारबाहीका लागि माग राखेका थियौं, तर त्यसलाई अध्यक्ष कर्माछिरिङ शेर्पाले अस्विकार गर्नुभयो । उहाँले कारबाही गरे अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिने बताउनुभयो, किनभने प्रशिक्षक कतारको सहयोगमा आएका हुन् ।’ त्यसपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङले बोले । उनी थकित देखिन्थे, निराश देखिन्थे । अल्मुताइरीको समर्थनमा सामाजिक सञ्जालमा नेम्बाङलाई मनपरी गाली गरिएको हुनाले आक्रोशित पनि थिए ।
उनको भनाइ थियो, ‘एन्फा नेपाली फुटबलको सर्वोच्च संस्था हो, यसबाट हामीले जुन अपेक्षा राखेका छौं, त्यो पूरा भएन । प्रशिक्षकले अनुशासन तोडेका छन् र वरिष्ठ उपाध्यक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनीमाथि कारबाही गर्नुपर्ने थियो । प्रशिक्षकले सामाजिक सञ्जालमा राजीनामा थिए, तर औपचारिक रूपमा कतै राजीनामा दिएका छैनन् । उनले लगाएका विभिन्न आरोपका कारण मैले नेपाली फुटबलमा लामो समयदेखि गर्दै आएको योगदानको अवमूल्यन भएको छ ।’ उनले नेपाली फुटबलमा पछिल्लो समय विकसित भएका घटनाक्रमप्रति निराशा पनि पोखे र एन्फा आफूले गर्नुपर्ने निर्णय तथा काममा चुकेको आरोप लगाए । बैठककै क्रममा प्रशिक्षक अल्मुताइरीलाई पनि बोल्ने अवसर दिइएको थियो । यसक्रममा उनी आफै रिसाएर प्रस्तुत भए । बैठकका सहभागीहरूका अनुसार अल्मुताइरीले आफूलाई असुरक्षाको महसुस भएको र आफ्नो समर्थनमा एन्फा अगाडि नआएको बताएका थिए ।
बैठकबाट चाँडै बाहिर निस्केका समूहको भनाइ थियो, प्रशिक्षक यसरी आक्रोशित भएर प्रस्तुत भएकामै आपत्ति छ । प्रशिक्षक अल्मुताइरी एन्फापरिसरमा प्रवेश गर्दा र बाहिर निस्कँदा सुरक्षा व्यवस्था कडा गरिएको थियो । उनी मिडियासामु प्रस्तुत पनि भएनन्, खाली सामान्य प्रतिक्रियाका क्रममा सबथोक ठीक रहेको संकेत मात्र दिए । अध्यक्ष शेर्पा पनि सकेसम्म मिडियासामु आउन नै चाहेनन् । अन्त्यमा आउन त आए, तर खाली सामान्य प्रतिक्रियामात्र दिए ।
उनको भनाइ थियो, ‘मैले जे जति गर्छु, यथार्थमा आधारित भएरमात्र गर्नेछु ।’ अब के त ? यसको उत्तर भने कोही पक्षसँग पनि रहेन । यत्ति भनियो, पुरुष राष्ट्रिय टिमको तयारी र प्रशिक्षण केही रोकिएको थियो, अब त्यो फेरि सुरु हुनेछ । छानबिनका लागि एन्फाले माथिको उच्च तहलाई अनुरोध गरिएको छ । त्यसले अब काम गर्नेछ । वरिष्ठ उपाध्यक्ष नेम्बाङको प्रतिक्रियाले पनि के देखिएको छ भने बैठकले समस्या समाधान गरेको छैन । स्पष्ट, नेपाली फुटबलको नेतृत्वमा मतभेद थियो । अब मनभेद पनि उत्तिकै बढेको छ ।

 

Page 7
कोसेली

खानी गाउँको सवाइ कहानी

- नवीन विभास


घुरिन्भीरको घोङ्रेरूखमा घाम लागेपछि जैपा गाउन थाल्छ । रोल्पाको सुदूर गाउँ हो जैपा । अनि घोङ्रेरूख त्यहाँको घडी । भीरको टाउकोमा घुङ्रिएको रयाजको त्यो बूढो रूखमा घाम लाग्नु नै दिनको दोपहर हुनु हो ।
जैपाले भाका हाल्नुअघि एक वृद्ध पिठ्युँमा घुम बोक्छन् । कोलो र घाँट लिएर भकारामा पुग्छन् । कोले गाईको गलामा कोलो र घाँरे बाख्राको गलामा घाँट झुन्ड्याउँछन् ।
गाई/बाख्राका गति–संगीतमा तिनै कोलो र घाँट गीत बन्छन् । बीचबीचमा र्‍याप हानेजसरी गाई र बाख्राले गीतमा गला गाँस्छन् । पिठ्युँमा घुमवाल बूढो पाइलालाई गाई/बाख्राले पछ्याउँछन् भने तिनलाई एउटा फुच्चेले । यसरी प्रत्येक भकाराबाट वस्तुभाउ बाहिरिँदा रोल्पाको बरै, उत्रा, फाँक, ख्यालीजस्ता रैथाने गीत गुन्जन्छ ।
वस्तुभाउ बाठाकोप्चेको पोखरीमा पुग्छन् । पानी पिउँछन् । लगत्तै ओरालिएर खान्ढारा पुग्छन् । चोत्रा, घङ्ङारु, धाइराका पात र कलिला डाँठ खान बाख्राको हानथाप चल्छ । कोरोनाकालीन भौतिक दूरी कायम गरेजसरी उभिएका रयाज, मेल, राँकुलीले चरिरहेका गाई रम्चाउँदै हावा–तालमा
पैसरी नाच्छन् ।
एउटा फुच्चे किट (धाउबाट फलाम निकाल्दाखेरिका टुक्रा, जसलाई फलामको गु पनि भन्छन्) खेल्न थाल्छन् भने एक बूढा फलाम निकाल्दाको ‘युवावय’ मा बहकिन । बूढा मानिसको मन घरी उख्लीखानी र ढोड्रेखानीको सुरुङभित्र पस्छ त घरी चुनबाङखोलासँग बग्छ । कहिलेकसो
बाघले गाउँका कुकुर र बाख्रा बोकेर तिनै सुरुङभित्र
सुलुक्क सुल्किन्छ ।
‘हाम्रा पुर्खा एक घण्टा पैदल दूरीको राङ्कोट गर्खाडेराबाट खानी खन्न आउँथे गरे (रे) । अहिले बस्ती बसेको जैपा गाउँ कुनै बेला घना जंगल थियो गरे । जंगलमा चोइयको झाङ थियो गरे । तिनै चोयाको भाङ बालेर खानीभित्र पस्थे गरे । खानीछेउको जंगललाई जैपा गाउँ बनाएर हाम्रा पुर्खा बसे गरे,’ बयोवृद्ध मनप्रसाद पुन खानीले खनेको जैपाको कहानी हाल्छन् । यसरी बस्ती बसाउने पुर्खाका सन्तान हुन्, ती बूढा मानिस । मनप्रसाद उनै बूढाका कान्छापुत्र । किट खेल्ने फुच्चे म हुँ भने घुमवाल बूढो मेरा बाजी (बाजे) अनि मनप्रसाद मेरो काकु (काका) । हो, त्यही खानीबाट बाजी, बाबै (बाबा) हरूले फलाम निकालेका हुन् ।
वारि जैपा गाउँ छ त पारि रपा गाउँ । ती गाउँलाई बीचमा पारी चुनबाङखोला बग्छ । जुन खोला दाङ पुगेर रापती बन्छ । जैपामा भन्दा रपामा धेरै खानी छन् । बर्खेझरीवाल साँझ बाबै ‘साइँली बरै’ गाउँदै खानीकालीन दिनमा फर्कन्थे, ‘सल्यान, रुकुमतिर फलाम किन्नेहरूका लर्को लाग्थ्यो ।’ एक दिन नेपालका अन्य खानीसँगै मैले किट खेलिरहेको उख्लीखानी पनि बन्द हुन्छ । रोजीरोटी जोहो गर्ने त्यो खानी बन्द भएपछि बाबै आफ्ना दौंतरीहरूसँग कालापार (भारत) लाग्छन् ।
ल ल ल
‘थुनीखोला बाइसै आखर, धोए फलाम,’ सिङारुको यो टुक्काले बाइस भट्टी जलेको भन्छ । ‘थुनीखोला रोल्पाकै सबभन्दा राम्रो र ठूलो खानी मानिन्थ्यो,’ रोल्पा जेलबाङका सुकबहादुर रोकामगर फलामखानीले फुलाएको सिङारु गुनगुनाउँछन् । जैपाको उख्लीखानी, ढोड्रेखानीसहित रपाका डाँराखानी, सेम्डेरेखानी, सेलाखानी, टाक्सेखानी कहलिएका फलामखानी हुन् । खानीवाल त्यस भेग थुनीखोलाको खानी नाउँले
परिचित हुन्छ ।
तारेको तारबारमा खानी चल्छ । ‘यति धाउ (कच्चा पदार्थ) पगाल्न यति गोल र यतिसम्म तताउने’ जस्ता कुरा तारेकै तारमा हुन्छ । सबै तारबार गर्ने भएकाले तारे नामक पद दिइएको होला । रपाका सन्तवीर बुढामगर (८०) र गोपीराम घर्तीमगरहरू बलजित भुरामगर, सार्की थापामगर, धनजित भुरामगरजस्ता त्यस भेगमा कहलिएका तारेहरूलाई सम्झँदै भन्छन्, ‘धोनेबेला (धाउबाट फलाम निकाल्दा) तारेलाई एक बुट्का जाँर (जाँड) र भाले हर्जा (कमी)
गर्नै हुन्नथो ।’
कहाँ कुन खनिज छ ? कत्तिले ढुंगा ढ्वाङ्ङ हान्दा निक्लने धुन सुनेर खानी पत्ता लगाएका हुन् त कत्तिले माटो सुँघेर !

ॅरोल्पा’ मा सुन छ, कान मेरो बुच्चै
पर्वत, बागलुङ, पाल्पा, तनहुँ, रोल्पा, चितवन, सिन्धुपाल्चोक, बैतडी, बझाङ, रामेछाप, जाजरकोट, काठमाडौं (फुल्चोकी) लगायतका जिल्लामा स्थानीय तवरमा फलाम खानी चलेको हो । इतिहास भन्छ– नेपालमा फलाम मात्र होइन, तामा, सुन र रत्न पत्थर सदियौंदेखि उत्खनन र प्रयोगमा ल्याइएको हो । हुएन साङले त नेपालबाट तिब्बतमा फलाम, तामा आदि निर्यात गरिएको उल्लेख गरेका छन् । रामेछाप ठोंसेमा देवशमशेरले १९२१ मा भोटसँगको युद्धका लागि हतियार बनाउन कारखाना खोलेको सन्दर्भ पनि छ ।
खानी तथा भूगर्भ विभागले ‘नवलपरासी धौबाडीमा २० करोड टन, रामेछाप ठोसे र ललितपुर फुल्चोकीमा एकेक करोड टन अनि पर्वतको फलाम खानी गाविसमा २० लाख टनको फलाम सम्भावना’ भन्छ ।
रोल्पामा सुनखानी पनि छ । पूर्वमन्त्री बालाराम घर्तीमगर सम्झन्छन्, ‘अहिले पनि सुन खोज्छन् । सुन चाल्ने त म आफैं पनि हुँ । खोला किनारको माटो माटो चाल्दा माटो बग्छ भने सुन रहन्छ । एकै दिन कहिले एक रतिदेखि पाँच मासासम्म भेटेको छु ।’ उनका अनुसार, पाँच रतिको एक मासा हुन्छ । १० मासाको एक तोला । खोज भन्छ– पूर्वी रोल्पाको जेलबाङदेखि गामसम्म ३० किलोमिटर क्षेत्रमा सुन छ । उद्योगमन्त्री हुँदा नेपालमा खनिजबारे खोज गराएको बालाराम स्मरण गर्छन् ।

खानीका मगर
घुमन्ते युगमा कन्दमूल खनेर खाने चलन नै खेतीमा परिणत भएको हो । सिकार गरेर खाने चलन पशुपालनमा । खेती, पशुपालन र सुरक्षाका लागि मानिसले धातुको औजार बनाउन खनिज खोज गरेको हो । कृषि औजार र हतियार बनाउन फलाम, गहना बनाउन सुन अनि भाँडा बनाउन तामा ।
मगर मूलथलो पश्चिम पहाडमा खानी छ भने खानी खन्ने मगर पेसा । पुष्पा पुनले पर्वत, म्याग्दी, बागलुङमा २२ र गुल्मीमा ४४ खानी रहेको उल्लेख गरेकी छन् । आरएन पाण्डेका अनुसार, त अठारौं सदीतिर भारतको कलकत्तासम्म राम्रो भाउमा नेपाली धातु बिक्री गरेको पनि उल्लेख छ । नीलमकुमार शर्मालाई उद्धृत गर्दै दिलप्रसाद मगर लेख्छन्– पश्चिम पहाडको एक महत्त्वपूर्ण आर्थिक स्रोतका रूपमा रहेको खानीसम्बन्धी विशेष सीप भएको जाति मगरले प्राचीनकालदेखि नै खानीको काम गर्दै आएको देखिन्छ (मगर जाति, २४२) । १९ औं सदीमा नेपाली अर्थतन्त्रको मुख्य राजस्व–स्रोत कृषि र वाणिज्यपछि खानी हो । बेनी, बागलुङ, पाल्पाको तामा सिक्का छाप्न प्रयोग गरिने र ती सिक्का नेपालबाहेक उत्तर भारतसम्म प्रयोग भएको महेशचन्द्र रेग्मीले उल्लेख गरेका छन् । मानवशास्त्री डोरबहादुर विष्टका अनुसार, ‘ठाउँठाउँमा भएका तामाखानीमा काम गर्न त्यसबेला मगर लगिएको थियो ।’ दिलप्रसाद मीन श्रीसमगरलाई हवाला दिन्छन्, ‘गण्डकी र रापती क्षेत्रमा फलाम र तामाखानी धेरै भएको र खानी उत्खनन् र प्रशोधनलाई त्यस क्षेत्रका मगरले मध्यकालदेखि राणाकालसम्म मुख्य पेसाको रूपमा अपनाएको देखिन्छ ।’ गण्डकी, रापती, भेरीतिर तामा र फलाम खानी तथा डोल्पातिर भने नुनखानीमा उनीहरूले काम गरेको देखिन्छ । दिलप्रसाद थप्छन्, ‘खनिज धातुको माग घरेलु प्रयोगका औजारदेखि हातहतियार बनाउन र मुद्रा छाप्न सरकारलाई समेत यसको आवश्यकता दिनप्रतिदिन बढेको र अन्य वैकल्पिक पेसा सीमित भएका कारण मगरले यो पेसा थालेको देखिन्छ (मगर जाति, २४४) ।’ खानीको प्रशोधित धातुबाट मगरले बनाएका विभिन्न बाजा फलामको झ्याली, पैजन, भाँडाकुँडा, घरेलु हातहतियार, औजार, तामाको पैसा, रुना मल्लकालदेखि नै प्रशस्त चलनचल्तीमा आएको पाइन्छ । मगरको मूलक्षेत्र मानिने गण्डकी, रापती खानी क्षेत्रका मगरको मुख्य पेसा खानी उत्खनन मध्यकालदेखि राणाकालसम्म हुन्छ ।
‘ओदान, कोदालोजस्ता कृषि औजार बेच्न बाबै डोल्पासम्म पुग्थे गरे । बाबैले फलानो ठाउँको फलानोसँग यति उधारो छ, उठाउनु भनेका थिए,’ सुक सम्झन्छन्, ‘घरबुना बेच्न अन्य ठाउँका मगर हाम्रोतिर आउँथे ।’
अठार मगरातका मगर खानी र बाह्र मगरातका मगर कपास खेतीबाट घरबुना लुगा बुन्न माहिर मानिन्छन् । बाह्र मगरातका मगरले घरबुना र अठार मगरातका मगरले फलाम व्यापार गर्छन् ।
डा. प्रेम शर्माका अनुसार, खानीको कारण मगर, कामी, छन्त्याल र थकाली समुदाय एकअर्काबीच घनिष्ठ र अन्तरनिर्भर भेटिन्छन् ।

फलामखानीमा माओवादी
रोल्पामा खानी र मगरका कारण माओवादी मौलाउँछ ।
दुई–चार थान भरुवा बन्दुक, जारे कुकुर (भोटे कुकुर) सँग सिंगो गाउँ सिकार खेल्न निक्लने चलन हो, जसलाई ‘एरा खेल्ने’ भन्छन् । यसरी गरिएको सिकार सिंगो गाउँले नै ‘दामासाही’ शैलीमा बाँडेर खाने चलन हो ।
सुरक्षा र सिकार खेल्दा चाहिने बन्दुक रोल्पाली गाउँमै बन्छ । किट गोलीको रूपमा प्रयोग हुन्छ भने बारुदको रूपमा गन्दक । फलामखानी भएकाले होला, रोल्पामा भरुवा बन्दुक प्रशस्त हुन्छ । पूर्वमन्त्री बालारामका अनुसार, प्यूठान गौंडामा दर्ता भएका मात्रै रोल्पाका चार हजार बन्दुक हुन् (बन्दुकको नालमा प्यूठान गौंडा र नम्बर लेखिएको छ) । माओवादीले तिनै बन्दुक जम्मा गरी ‘जनयुद्ध’ थालेको हो । युद्ध थाल्दा माओवादीसँग ‘होलटाइमर’ नामक एउटा राइफल र अर्को बिग्रेको गरी दुई थान राइफल हुन्छ ।

खानी कर
रोल्पाली जनता पोत तिर्न फलाम र तामा बोकेर अड्डासार गर्दै प्यूठान पुग्छन् । पूर्वमन्त्री बालाराम सम्झन्छन्, ‘लिबाङले खुमेल, खुमेलबाट परपर गर्दै अरेस हुँदै प्यूठान (बाग्दुला) अड्डामा फलाम पोत तिर्न जाने हो । बाग्दुला नै पश्चिम नेपालको म्याग्जिन (बन्दुकको नाल, गोला, ढाल) बनाउने हतियार कारखाना हो ।’ त्यसरी जम्मा भएको फलाम माओवादीले ‘जनयुद्ध’ थाल्दा पनि बाग्दुलामै थुप्रिएको हुन्छ ।
श्री ३ चन्द्रशमशेरले छ प्रतिशतबाट धातु–कर एक्कासि पचास प्रतिशत बढाउँछन् । तिर्न नसक्नेलाई जेल हाल्छन् । खानीमा लागेका मगरले सिरीखुरीसमेत गुमाउँछन् । हुक्किहार भएर बिन्ती बिसाउन नेपाल (काठमाडौं) जान्छन् । इतिहासकार नरु थापा लेख्छन्, ‘खानी खन्दैनौं भनेर छिनो (तागा) र घन थन्क्याइए पनि कर तिर्नैपर्छ भन्ने हुकुम जारी भयो । लप्टन गंगाप्रसाद बुढाथोकी मगरले गुल्मी चहारेका खडकजित रानासमेतको सहयोगमा २२ खानीभित्रको ७४ मौजा खानीवालाको संगठन गरी श्री ३ सरकारमा जाहेर गरे । खानी हुने मौजाका मगरहरूसँग घरधुरीपिच्छे मो.रु. एकको दरले र खानी नहुने मौजामा पचास पैसाको दरले खानी छाडेबापत रकम तिरेर जेलनेलबाट छुटे (किरात मगर इतिहास, ६९) ।’ लप्टन राणा सरकारले खानी जिम्मा लगाएका व्यक्ति हुन् ।
सरकारमा बिन्ती बिसाउन जाँदा लागेको रकम गुल्मी भार्सेका साहु बलबहादुर पुनले ऋण दिन्छन्– पहिलो किस्तामा ४०० र दोस्रो किस्तामा ५०५ रुपैयाँ । १९८६ साउनमा लेखिएको दोस्रो किस्ताको तमसुक माहिला बाजेको नासोजसरी नेपाली सेनाका पूर्व अधिकृत एवं लेखक हेमलाल पुनले राखेका छन् । उनका बाजे कप्तान शिवराजको डायरीमा ‘खानीगाउँको सवाइ’ समेत छ–
सुनसुन महाराज म केही भन्छु
खानीगाउँको दुःखको सवाइ कहन्छु ।
भागीकन नेपाल गया, मगरात खानीगाउँ,
तीन रुपैयाँ २९ पैसा नगद तिर्न पाऊँ ।
माटो फाल्दा अक्षरै बोकी
मर्ने जति मरिगया, बँचेका भया रोगी ।
डायरीमा लेखिएका अक्षर भने उनका पिताका हुन् । काव्यात्मक ती सवाइबारे हेमलालको कथन छ, ‘त्यो रचना बाजे वा बाबाको आफ्नै मौलिक रचना हो कि होइन ? म यसै भन्न सक्तिनँ ।’ ५० प्रतिशत कर बढ्दा चालु रहेका २२ खानी हुन्– रुकुमका पदमी र झुम्लाबाङ खानी, म्याग्दीका बरङजा, चिमखानी, टीकाबाङ, रुमखानी, पर्वतको झिङखानी, बागलुङका पाण्डवखानी, ओखले, लाम्मेलखानी, गुल्मीका चाहारेडाँडापारि, धाईथुम, डडल्का, लम्करा, जयाखानी, हरियोखानी, हर्याटा, खङ्कोट, मुरुखानी, धुर्कोटखानी, अर्घाखाँचीका सिन्दुरेखानी र धाराखानी ।

खानी किन बन्द भए ः सहायक कारण
खानी बन्द हुनुका कारणबारे खानीगाउँमा अनेक किस्सा छन् । एक, बन मासिएर । दुई, देसी फलामले निलेर । तीन, खानीमा धाउ र गाउँमा तारे सकिएर । चार, राजा लागेर ।
‘राजा लागेर खानी बन्द भएको हो’ भन्नेचाहिँ खानी बन्द हुनुको मूल कारण हो । बाँकी ‘सहायक’ हुन् । राजा लागेर खानी बन्द भन्नुको अर्थ ‘सरकारले बन्द गराएको’ भन्ने हो ।

खानीले वन खायो
धाउबाट फलाम वा तामा निकाल्न आगो चाहिन्छ ।
आगो बाल्न गोल । गोल बनाउन काठ । गोल बनाउँदा
वन विनाश ।
रपाका सन्तवीर सम्झन्छन्, ‘वन मात्र मासिएन, हाम्रा कम्द ढिकढाकका पैयसैयका बुटासमेत बाँकी रहेनन् ।’ त्यसबेला गुल्मीतिर चलेको उखान इतिहासकार नरु थापा उल्लेख गर्छन्, ‘मगरलाई बन नदिनू, ठकुरीलाई धन नदिनू, खसलाई मन नदिनू, मतवालीलाई वचन नदिनू, बाहुनलाई पाटो नदिनू र नेवारलाई दोबाटो नदिनू (किरात मगर इतिहास, ६८) ।’

देसी फलामले रैथाने फलाम ख्वाप्प
औजार बनाउने बेला रैथाने फलाम, तामाभन्दा देसी (अंग्रेज अर्थात् कम्पनी सरकारको) फलाम पगाल्न सजिलो हुन्छ । देसी फलाम र तामा सस्तो पनि । वनसाङ्लाले घरसाङ्ला खाएजसरी रैथाने फलाम र तामालाई देसी फलाम र तामाले ख्वाप्प खान्छ ।
सरकारको ज्यादतीले गाउँमा तारे बन्न नयाँ पुस्तामा अरुचि बढ्छ । कतिपय खानीमा धाउ पनि सकिन्छ ।

मूल कारण
नेपालका खानी बन्द हुनुको मूल कारण भने भारतमा राजरत अंग्रेजको इस्ट इन्डिया कम्पनी सरकार हो । राणा सरकार जनमैत्री नभई राणा राज्य अंग्रेजमैत्री भएकाले खानी बन्द भएको हो । हिन्दु जात व्यवस्थामा उभिएको नेपालको राज्यसत्ता जनमुखी नभई सत्तामुखी हुँदा खानी बन्द हुन्छन् ।
यति भन्न अंग्रेजको ‘बजार विस्तार र कब्जा’ को कुरा कोट्याउनुपर्ने हुन्छ ।
अंग्रेजले भारतका विभिन्न सहरमा उद्योगधन्दा पनि खोल्छ । बेच्ने बजार त चाहिन्छ नै । नेपालमा आँखा लाउँछ । चुरोट, ‘रेडिमेड’ कपडा, फलाम, तामा बजार खोज्छ । रैथाने फलाम, तामा, घरबुना लुगा ‘म्यानुयल’ उत्पादनले अंग्रेजको ‘मास’ उत्पादनलाई कसरी जित्नु ? उसैमाथि बजार कब्जा गर्न सस्तो पनि हुन्छ, हेर्दा चमकधमक पनि । प्रतिस्पर्धा गर्न नसकी घिटीघिटी भएको रैथाने खानीमा सरकारले पचास प्रतिशत कर बढाउँछ । ज्ञाइन्द्रबहादुर श्रेष्ठका अनुसार, यसअघि नै अठार मगरातका मगर खानीमा र बाह्र मगरातका मगर कपास खेती गरी घरबुना लुगामा
निर्भर हुन्छन् ।
मानवशास्त्री डोरबहादुर विष्ट भन्छन्, ‘ब्रिटिस भारतीय सेना भर्ना हुने क्रम बढेको र राणा शासकले पनि खानी बन्द गराई गाउँगाउँबाट उर्दी लगाई (विश्वयुद्धताका) सेनामा पठाएपछि मगरको खानी खन्ने पेसा लोप हुँदै गएको हो भन्ने प्रसंगबाट सुगौली सन्धिपछि क्रमशः यो पेसा अपनाउने मगर संख्या घट्दै राणाकालको अन्ततिर पूर्ण रूपमा लोप
भएको देखिन्छ ।’
५० प्रतिशत कर बढेपछि रैथाने खानी स्वतः बन्द हुन्छ । फलाम, तामा र घरबुना लुगा बन्द भएपछि देसी मालले एकलौटी कब्जा जमाउँछ । कब्जा जमाएपछि अंग्रेज खुस हुन्छ । अंग्रेज खुसी भएपछि राणासत्ता सकुशल । राणासत्ता कम्पनी सरकारको गुलामी गोडाले त उभिएको हो । राणा सरकारले गुलामी गर्न तराईका जंगलमा अंग्रेज राजकुमारसम्मलाई सिकार खेलाउँछ । वन्यजन्तु उपहार दिन्छ । जंगबहादुर राणाले लखनउ विद्रोह दबाउन
सेनासमेत पठाउँछन् ।
खानी बन्द भएपछि के भयो ? खानी बन्द भएपछि नेपालको आर्थिक, सामाजिक जीवनमा बदलाव आउँछ ।

लाहुरे संख्या बढ्छ
मेरो बाजी बेलायती लाहुरे हुन् । विश्वयुद्धताका जबर्जस्त लाहुरिएका । बाजी भन्थे, ‘ओडारमा लुकेको पनि छोपेर लग्यो, दशैंको खसी/बोकालाई जसरी । तन्नेरी देखे च्याप्प समाएर लग्थ्यो ।’ सरकारी आँखामा मगर युवा पर्छन् । राणाले गाउँगाउँमा गल्ला पठाउँछ, जो माओवादी ‘जनयुद्ध’ चर्कनुअघिसम्म जारी रहन्छ । गल्लाले फकाउँदै प्रतिकिशोर ‘एक रुपैयाँ बैना मार्छ ।’ मासु–भात खुवाउँदै गोरखपुर लान्छ । ‘२०३६ मा भार्सेबाट २२ जना भर्ती भए । जो त्यो गाउँको युवामा ९९ प्रतिशत हो । मुक्खेली धान्ने मुक्खेको छोराबाहेक गाउँमा बँचेका त शारीरिक रूपले अशक्त मात्रै थिए,’ हेमलाल भन्छन् ।
राणा सरकारले गाउँगाउँबाट उर्दी लगाएर विश्वयुद्धमा पठाउँछ । समाजशास्त्री विष्टका अनुसार, खानीमा काम गर्ने रोजगारी खोसिएपछि विदेशी तथा नेपाली सेनामा मगरको भर्ती हुने संख्या बढेको देखिन्छ ।
पृथ्वीनारायण शाहको गोर्खा विस्तारमा बगेको ‘मगर रगत’ २००७ को कांग्रेस क्रान्ति, २०५२ को माओवादी ‘जनयुद्ध’ सम्म पनि रोकिन्न, जो रगत शासक खलकलाई नै सत्ता दिलाउन सीमित छ । स्मरणीय यो छ कि, खानी बन्द गराएर युवाहरूलाई विदेशी सेनामा बेच्ने चलन आज पनि जारी छ ।

बिदेसिने लर्को
खानी बन्द भएलगत्तै बाबै (बा) खयर काट्न जान्छन् । त्यसपछि भावर (बाबियो) र बेत काट्न । अन्तमा कालापार । लाहुर लान ‘गल्ला’ गाउँगाउँ पुगेजसरी कालापार लान ‘मेट’
(ठेकेदारले मजदुर बटुल्न गाउँ खटाएका मानिस) पुग्छन् ।
रपाका उनै सन्तवीर कोइलाबासबाट जरुवा हुँदै रेल चढेर कालापार पुगेको सम्झन्छन्, ‘जरुवामा रेल चढेँ । देहरादुन पुग्न १८ रुपैयाँ लाग्यो । देहरादुन हुँदै चोरपुर (विकासनगर) भएर सिमला गएँ । त्यसबेला धेरी दिनको एक रुप्पे थियो ।’
ल ल ल
खानी बन्द भएपछि नेपालको तेस्रो ठूलो जनसंख्या र आदिवासी जनजातिमध्ये सबभन्दा ठूलो जनसंख्यावाल मगर मुलुकबाट बाहिरिन्छ । मगरका दरसन्तान भर्ती र बाहिरिने क्रम जारी छ । जुन लर्को तन्केर अहिले अरब पुगेको छ । खानी बन्दसँगै बाहिरिएको मगर त ‘राज्यको मूलधार’ बाहिरै छ ।
बलि चढाउन मगर नै रोज्नुको कारण खोज्न नेपाली समाज संरचना, पृथ्वीनारायण शाहको गोर्खा विस्तारमा मगर, जंगबहादुर राणाविरुद्ध लखन थापामगरको विद्रोहजस्ता
सन्दर्भ केलाउनुपर्छ ।
खानी, घरबुना लुगा र लडाइँमा पारंगत मगरमा राजनीतिक चेत पलाए त इतिहासको साँवा–ब्याज खोज्छन् । आफ्नो ‘स्पेस’ दाबी गर्छन् (जुन डर आजको शासक खलकमा पनि विद्यमान छ) । शासकमा यो डरले घर गरेको छ । त्यसैले खानी र घरबुना बन्द गराई विदेशमा गुलाम बनाउन धपाउँदा शासकलाई फाइदैफाइदा हुन्छ ।
एक, अंग्रेज गुलामी निरन्तर अघि बढ्छ । दुई, इतिहासमा गरेको लगानीको साँवा–ब्याज खोज्लान् कि भन्ने डर घट्छ । राजनीतिक चेत जागे न आफ्नो स्पेस खोज्ने
हो ! इतिहासमा गरेको लगानी खोज्ने हो ! अंग्रेज चाकडीस्वरूप मगरलाई भर्तीमा जबर्जस्त पठाएपछि अंग्रेजको धातु र लुगाको बजार पनि ‘सुनिश्चित’ हुन्छ ।
ल ल ल
सारमा, खानी बन्द भएपछि मुलुक परनिर्भर हुन्छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंका अनुसार, नेपालले आर्थिक वर्ष २०७७/७८ मा तामा र फलाम मात्र क्रमशः सात अर्ब ६४ करोड र फलाम १७५ अर्ब ३४ करोड आयात गरेको छ । अंग्रेज हस्तक्षेपले नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँचिन्छ ।
ल ल ल
नुनदेखि सुनसम्म नेपालमै छ । डा. प्रेम शर्माका अनुसार, झन्डै सय वर्षपहिले नेपाल आफ्नै धातुजन्य खानी, नुन र पशुपालनले आत्मनिर्भर हुन्छ ।
आज ? सबैथोकमा परनिर्भरता बढ्दै छ ।
कालापार (अहिले अरब र मलेसिया पनि) र लाहुरिने क्रम जारी छ । यति विरोधाभास कि, राज्यले खेदेका उनै नागरिकका पसिना, सपना, रहर र रगतको ‘रेमिट्यान्स’ ले नै आज नेपालले सास फेर्छ ।
नेपाली समाजको यही विभेदयुक्त स्वरूप फेर्न कांग्रेस र माओवादीले हतियार उठाएका हुन् । दुवै क्रान्तिका सुप्रिमोद्वय बीपी कोइराला र पुष्पकमल दाहाल देशको ‘कार्यकारी प्रमुख’ हुँदासमेत ती खेदिएका/बेचिएका जन फर्कने साइत जुरेन भने अर्को ‘साइत’ कहिले जुर्ला ? अझै कति उथलपुथल कुर्नुपर्ला ?

 

Page 8
कोसेली

नगरकोटीको गन्तव्य

- अभि सुवेदी

 

एउटा अत्यन्त वाचाल घटनाको सम्झना हुन्छ । सन्दर्भअनुसार, म त्यो भनिबस्छु । सन् १९९६ को मार्च महिनाको अमुक दिन इटालीको विशाल कोमो तलाउ यताको पहाडी खण्डमा पन्ध्रौं शताब्दीको एउटा दरबार छ । त्यहाँ रकफेलर फाउन्डेसनको बेलाजियो अध्ययन केन्द्र छ । त्यो दुईमहिने कार्यक्रममा म गएको थिएँ । वर्षैभरि धेरैतिरबाट मजस्तै गएका मानिसहरू त्यहाँ आफ्ना काम गर्छन्– किताब लेख्छन्, संगीत गर्छन्, चित्र बनाउँछन् अनि संवाद र छलफल गर्छन् । अनि आफूले गरेका कामको तिनीहरूले सबैसामु प्रस्तुति गर्नुपर्छ ।
एक दिन एउटा नबिर्सिने प्रस्तुति थियो, एक कलाकारको । तिनको नाम गुनार कल्देवी थियो । पछि ती मेरा मित्र भएपछि तिनका कामबारे थाहा पाएँ । तिनको प्रस्तुतिको विषय थियो, किताब बनाउने । अनि तिनलाई कलाकार भनेर चिनाइएको थियो । किताब बनाउने साधारण कुरा हो, यी कसरी कलाकार हुन्छन् ? मैले सोचें । गुनार अमुक किताबलाई त्यसको विषय र त्यसको कलाअनुसार आकार दिँदा रहेछन् । आयरल्याण्डका नोबेल पुरस्कार विजेता कवि सिमस हिनीको कवितासंग्रहको किताबमाथि तिनको कलाको प्रस्तुति थियो । किताबको कथा, त्यसको काव्यिक विषय अनि त्यसको पाठकसँगको सम्बन्धका अनेकौं विषय किताब–कलामा खुल्ने रहेछन् । गुनारले किताबको आदिम स्पन्दन, त्यसको केही कुराले पनि ध्वस्त गर्न नसक्ने शाश्वत कथा, त्यसमा पाठकका मन र दृष्टिलाई आफ्नो किताब–कलामा राख्न खोजेको कुरा बुझाए । सीमित कपी मात्रै बनेको त्यस्तो किताब बिक्री पनि हुनेरहेछ, कलाजस्तै ।
किताबको पाँच हजार वर्षपूर्व मेसोपोटामियादेखिको कथा अत्यन्त सुन्दर छ । किताब पहिला लेखिन्थ्यो, त्यसपछि मुद्रण गरियो । पन्ध्रौं शताब्दीमा गटेनबर्गले प्रेस बनाउनुअघिसम्म लेखिएका किताबहरू नै चल्थे । तर, त्यसपछि लेखिने किताब कला भएर बसे । मुद्रण हाम्रोमा धेरै पछि आएको हो । बंगलादेशका ठूला प्रकाशक र लेखक मित्र मफिदुल हकले ढाकामा मलाई एउटा पुरानो विज्ञापन देखाएका थिए । हातले लेखेका किताब पढ्ने आस्था र झन्डै आध्यात्मिक विश्वास भएका पाठकले छापिएका किताब नपढ्लान् भनेर त्यो विज्ञापन बनाइएको थियो । कतै टिपेको छु, तर सम्झना छ । ‘पवित्र गंगाजलसे धोइ हुइ मेसिन से छपी हुइ किताब’ भनेर विज्ञापन गरिएको छ । यो द्वन्द्वजस्तो पश्चिमी मुलुकमा आस्थाको समस्या थिएन, तर छापिएको किताबले त्यो धेरै कालसम्मको किताबको भयानक प्रभावलाई कम होइन अझ बलियो पार्ने जिम्माचाहिँ थियो ।
मलाई मन पर्ने विषयमा किताबभन्दा ठूलो अरू केही छैन । सन्त अगस्तिनले भने– पाठ दुई किसिमका हुन्छन्, एउटा हुन्छ मनमा देखिने अर्को हुन्छ उच्चारण गरिने । छुने र देख्ने पाठ पनि हुन्छन् । पाठका अनेकौं प्रयोग गरेर बनाएको एउटा ‘कल्प–ग्रन्थ’ शीर्षक किताब मलाई दिन केही दिनपहिले यसका लेखक नेपाली उपन्यासकार, लेखक कुमार नगरकोटी यसका प्रकाशक भूपेन्द्र खड्कासँग आए । कुमारको त्यही कालहीन पहिरन थियो । कालका सीमा तोड्न कुनै कुनै नाटकमा हामी कालो र खुकुलो पहिरनको प्रयोगलाई बुझ्छौं र प्रयोग गर्छौं । यो किताब साधारणतया अहिलेसम्म बजारमा आउने शैलीमा छापिएको पनि रहेनछ । ग्रन्थ बनाउन लेखक–प्रकाशकको निकै ठूलो मिहिनेत लागेको कुरा बुझ्दै जान्छु । नगरकोटी किताब राखेको बक्स खोल्छन् जहाँबाट कालो रङको कडा जिल्द भएको मोटो किताब निस्किन्छ । पृष्ठ ८०० को यो किताब सर्सर्ती लेखिएको उपन्यास वा कथासंग्रह होइन । यसभित्र पाठ मात्रै छैनन् आकार र विम्बहरू, ‘सेमियोटिक्स’ वा लक्षणा पनि छन् । कुमार अपेराको गायकजस्तो गाउथे भने भूपेन्द्र कन्डक्टरजस्तो छेस्का चलाएर यसको कम्पोजिसनको कुन खण्डका बाजा बजाउने भनेर देखाउँथे ।
नगरकोटी प्रायः उनका सबै उपन्यासमा समयसँग खेल्छन् । ती पात्रहरूलाई रचनाभित्र राख्छन्, तर त्यस्तो संरचनामा राख्ने कर्म अकिञ्चन हो भन्ने विश्वासले काम गर्छन् । उपन्यास र जीवनको सधैं द्वन्द्व हुन्छ । विश्वकै लेखकले त्यसको समाधान एउटा रूप–रचना बनाएर गरेका छन्, तोडेका पनि छन् । तोड्नेमा एक जना आयरल्यान्डका उपन्यासकार जेम्स ज्वायस हुन् । भाषासँग त ती यसरी खेल्छन् कि सोध्छौं, त्यसो भए यिनले किन पो लेखेका हुन् । यी कुमार भाइ भाषासँग खेल्छन्, ओल्टाइपल्टाइ गर्छन् । यी प्रयोगवादीहरूजस्तै बाठा छन् । संरचना र भाषाभित्रैबाट आफ्नो काम पनि पट्याउँछन् ।
मन पर्छ मलाई कुमारको प्रयोग गर्ने क्षमता । पहिलो खण्डको शीर्षक कविताजस्तो छ, ‘अलजाइमर्सग्रस्त एक अधबैंसे जगेडा आर्टिस्टको सृजनशील दिमाग अर्थात् मायावी भँवरजाल, कुहिरोको ल्यान्डस्केप र अन्सेन्सर्ड विचारहरूको आकाशगङ्गा ।’ यसरी लेखिएको पाठलाई अनेकौं पाठकले सुधारेका छन् । सबै हातले लेखेका छन् ती । कथानक हो जीवनको जुन बग्छ वा बग्दैन, तर छ । कुरा अप्ठ्यारो पनि छ । त्यो यथार्थ हो फिक्सनको, जीवनको । अहिलेको काललाई जोड्न खोज्दा मिल्छ पनि मिल्दैन पनि । यो किताब मलाई ‘कालो पोथी’ र अरू फिल्मका निर्माता मीन भामले किनेर पठाएका रहेछन् । मीन पनि कथा भएका छन् एउटा छुट्टै कार्डमा । तिनका
काफ्काको कथाजस्ता ‘मेटामोर्फोसिस्’ हरू भएका छन् ।
कथाहरू एउटा लामो प्रयोगशील दृष्टिगोचर रचना भएका छन् ‘कल्प–ग्रन्थ’ मा । साहित्यमा शब्द र पाठका आकारहरूका प्रयोग गर्नेहरूको कथा पश्चिमी साहित्यबाट बढी आएको देखेका छौं हामी अध्येताले । सन् साठी र सत्तरीका सुरुका वर्षमा अंग्रेजीमा ‘कङ्क्रिट पोइट्री’ नामले पाठमा अक्षरका आयोजनाका चित्ररूप राखेर प्रयोग गरिए । राजनीतिको धेरै चिन्ता र प्रयोग मात्र भइरहेको बेला यी नगरकोटी वामपन्थी, क्रान्तिकारी र भिन्न विचार राख्ने राजनेताहरूकोमा यो किताब लिएर सरासर कसरी गए, छक्कै लाग्या छ । तर, यी एक सृजनशील लेखक र उपन्यासकार भएर गए किनभने तिनीहरू पनि उनका पात्र भएका छन् । समय उपन्यास भएको छ जीवनको, जीवन अनेकौं रूपमा छरिएको छ । कुमारको ‘कल्प–ग्रन्थ’ मा कोलाहल छ, तर गन्तव्यमा शान्ति छ, बुद्धले देखेको मध्यमार्गी शान्ति ! यस पोकाबाट ‘खर्बुजा’ अलग कथा र मीन भामका कथा–कार्ड निस्किन्छन् बाहिर । हुलाक जीवन्त हुन्छ । नेपालका साहित्य र अरू क्षेत्रका नाम चलेका निकै जना नारीहरूका नाममा पोस्टकार्ड पृष्ठ भएर बसेका छन् । विम्बहरू र अकारहरू, कालो भूमिमा सेता अक्षर, जुरक्क उठ्छन् ।
यो रचना स्वस्थानी व्रतकथाजस्तो गरी बनिएको छ एक अर्थमा । अमुक अगस्त्यमुनिलाई तहाँउप्रान्त भनेर कथा सुनाउने यी कुमार नगरकोटीको यो उनको ‘स्व’ वा आफ्नै ‘स्थानी’ वा ठाउँको वैश्विक चेतना हो । सूत्रधार पनि राखेका छन् कुमारले । पुछारमा आउँछ जो, कथा भन्छ र भन्दैन । अक्षर र किताबको मञ्चमा अभिनय गर्छ । ‘अगस्त्यमुनि’ हरूलाई अर्को सूत्रधारले पठाएका किताब दिने क्रममा कुमारजी कफी हाउसमा आउँछन् । तिनको ‘कल्प–ग्रन्थ’ एउटा कालिक प्रयोग हो । कुमारजीको आज्ञाअनुसार, किताब यसरी बनाउने प्रकाशक दुवै उत्कर्षका भारी उचालेर छुटे । मैले पाउने शब्दसंख्या पुग्यो । भेटौंला ।

कोसेली

भर्न बाँकी उडान

- विद्या राई

 

इतिहासतिर चियाउँदा थाहा हुन्छ– पश्चिमाबाट महिलावाद सुरु भयो । यसैको प्रभावमा नेपालमा पनि विभिन्न रूप–रङमा महिलावादी बहस हुँदै आएका छन् । ०६२/०६३ को जनआन्दोलनपछि नेपालको महिलावादले अझै संस्थागत हुने अवसर पायो । समावेशी नीति र सिद्धान्तले प्राथमिकता पायो । फलस्वरूप महिलाका सवाल र मुद्दा स्थापित गर्ने केही प्रयास भएका छन् ।
राज्यले राष्ट्रप्रमुख महिला पाएको छ । हरेक निकायमा महिला सहभागिता बढेको छ । यसैलाई टेकेर हिजोआज भनिन्छ– महिलाहरू अधिकारसम्पन्न भइसके । तर, मेरो बुझाइ छ– यसो भन्नु हतार हुनेछ । नेपाली महिलाको केन्द्रीकृत चस्माले हेरेर यो निष्कर्षमा पुग्नुअघि विभिन्न भूगोल, पहिचान, अस्तित्व र वर्गका महिलाको स्थान–अवस्थामाथि मिहिन ढंगले अध्ययन गरिनुपर्छ । महिलाहरूको पहिचानसहितको अर्थपूर्ण समानुपातिक समावेशिताको सुनिश्चित राज्यले गर्नुपर्छ । महिलाको भौतिक प्रतिनिधित्वलाई निर्णय अधिकारसम्पन्न बनाउनुपर्छ । यस लेखमा बहस गर्न खोजिएको विषय हो– समानुपातिक समावेशी सिद्धान्तभित्र छुट्टै पहिचान र अस्तित्व बोकेका आदिवासी–जनजाति महिलाको सहभागितालाई राज्य सञ्चालनमा कसरी सीमित पारिएको छ !
नेपालको संविधानको मौलिक हक, धारा ३८(४) मा लेखिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’ यसैलाई आधार मान्ने र राज्यका निकायमा पछिल्लो महिला सहभागिता हेर्ने हो भने एउटा चित्र देखिन्छ– महिलाहरू विगतको तुलनामा अधिकारसम्पन्न भएकै हुन् । तर, प्रश्न उठ्छ– कुन समुदाय ? पहिचान र वर्गका महिला ? विविधता बोकेका महिला कति समेटिए ? के उनीहरूलाई नेतृत्व र निर्णयको अधिकार छ ? यसको सजिलो जवाफ छ, हिजो जो सत्तावरिपरि थिए, आज उनीहरू नै समानुपातिक–समावेशी सिद्धान्तभित्र अटाए ।
समानुपातिक–समावेशी सिद्धान्तमा अटाएका महिलाको बाहुल्य खास पहिरन र पहिचानसँग जोडिन्छ । खासगरी हिन्दु संस्कृति र संस्कारबाट आएका महिलाले समानुपातिक–समावेशी सिद्धान्तमा सबैभन्दा पहिले अधिकार राख्छन् । हिन्दु संस्कृति र संस्कारले खस–आर्यको प्रतिविम्बित गर्छ । रातो पहिरनले उनीहरूको पहिचान
निर्धारण गरेको छ । र, खास कुरा उनीहरू नेपालीभाषी हुन् ।
त्यसो त दलित महिलाले पनि हिन्दु संस्कार र संस्कृति अवलम्बन गरेका छन् । तर, दलित समुदायलाई अत्यन्त कमजोर दृष्टिकोणले हेरिन्छ । जनजाति महिला रातो पहिरन र पहिचानभित्र पर्दैनन् । र, उनीहरू नेपालीभाषी होइनन्, उनीहरूको आफ्नै मातृभाषा छ । उनीहरू राष्ट्रिय भाषाका रूपमा मात्रै बोलीचालीमा नेपाली भाषा प्रयोग गर्छन् । त्यसमा पनि उनीहरूलाई ‘स्वतन्त्र’ र ‘छाडा’ को परिभाषाभित्र राखिएको छ । अन्ततः सभ्य र संस्कारी भनेकै खस–आर्य मूलका महिलाले नै समानुपातिक समावेशी सिद्धान्तभित्र बाहुल्य राख्छन् । बचेखुचेका ठाउँ खस–आर्यबाहेकका महिलाले पाउँछन् । कुनै आदिवासी–जनजाति महिलाले स्थान पाएको भए कि ३३ प्रतिशत आरक्षणभित्र अटेर पाएका छन् कि सत्ताको गुणगान गाएर । तर, यसले यि समुदायका महिलाको पहिचानसहितको सवाल र मुद्दाहरूलाई समेट्दैन ।
पहिलो त राज्य सञ्चालन, नेतृत्वमा पुगेका यी महिलाले आफ्नो समुदायको सवाल बोकेर पुगेका छैनन् । सत्ता र शक्तिभित्र उनीहरूलाई आदिवासी–जनजाति महिलाको भौतिक सहभागिता देखाउन लगिएको हुन्छ । दोस्रो, त्यहाँ उनको निर्णय अधिकार हुँदैन । खास समुदायका महिलाको बाहुल्यमा उनका आवाज कुनै ‘सवाल’ बन्दैनन् । तेस्रो, यदि नेतृत्व दिइएको छ भने पनि खास बाहुल्यभित्र उनी एक्लैले उठाएको उनको मुद्दा कटौती भएरै छाड्छ । चौथो, राज्य सञ्चालनका हरेक निकायमा यि महिलालाई मात्रै भोट बैंक बनाइएको छ ।
यहाँ स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, संवैधानिक निकायजस्ता राज्य सञ्चालनका निकायमा पुग्न कुनै राजनीतिक दलमार्फत जानुपर्ने परिपाटी छ । राजनीतिक दलमा खस–आर्यले पहुँच राख्छन् । उनीहरू ठूलो समूह देखाउन, आफू शक्तिमा पुग्न यस समुदायका महिलालाई अवसर दिन्छन् । आफ्नो समुदायको सवालकेन्द्रित अभियानमा सक्रिय भएकालाई सम्पूर्ण भोट आफ्नो पोल्टामा पार्न लैजान्छन् । यसले निर्णय अधिकारमा पहुँच राख्ने तागत राख्दैन । खासमा तागत राख्न दिइँदैन । यसरी समानुपातिक समावेशी सिद्धान्त समुदायकेन्द्रित नभएर व्यक्ति केन्द्रित भएको छ । यो चलखेल गर्ने मुख्य भूमिकामा रहेका राजनीतिक दलले आदिवासी–जनजाति महिलाका मुद्दा तुहाइदिएका छन् ।
अनुसन्धानता कैलाश राईको बुझाइमा कुनै कालखण्डमा राजारजौटा भएर शासन जमाएका आदिवासी–जनजातिको सत्ता हत्याएपछि अर्थात् पृथ्वीनारायण शाहको पालाबाट सुरु भएको आधुनिक नेपालपछि आदिवासी–जनजातिले शासन सञ्चालन गुमाए । यस समुदायले पहिचान गुमाए । राज्यको सेवासुविधा उपभोगमा पहुँच गुमाए । नेपाली महिला भनेर एकीकृत रूपमा हेरिँदा यिनीहरूको अस्तित्व संकटमा छ ।
यो समुदायका महिलालाई अंश र वंशमा केही अधिकारको परम्परागत अभ्यास छ । उनीहरूले इच्छाएको पुरुषसँग विवाह गर्ने, पुनर्विवाह गर्ने, सन्तान पाउने, नपाउनेजस्ता विषयमा उनीहरू अधिकार राख्छन् । खस–आर्य समुदायका महिला यी अधिकारमा नियन्त्रित छन् । खस–आर्य महिला आफूमाथिको निर्णय आफैं गर्न पाउनुपर्छ भन्ने आवाज उठाउन थालेका छन् । यसरी हेर्दा आफ्नो समुदायभित्र आदिवासी–जनजाति महिलाले उतिसारो विभेद खप्नुपरेको छैन । उनीहरूलाई यिनै विषयमा जोडेर उनीहरूका अर्थपूर्ण सहभागितामूलक मुद्दालाई सामान्यीकरण गरिन्छ ।
एकखाले जमात आदिवासी–जनजाति महिलाको भौतिक उपस्थितिलाई नै समानुपातिक समावेशितासित जोडेर तर्क गर्छ । तर, संविधानमै समग्र महिलालाई एउटै डालोमा समावेश गरेको स्पष्ट हुँदाहुँदै आदिवासी–जनजाति महिलाले ठाउँ पाइसके भन्ने ठाउँ छैन । कुनै बेला सहभागिता पाउनकै लागि पितापुर्खादेखि चलिआएको उनीहरूको पहिचान र अस्तित्वसमेत बाधक बन्थ्यो । तत्कालीन समयमा मूलधारे भनिएका खस–आर्यले राजनीतिक अभियान र आन्दोलनमा उनीहरूलाई सामेल गराउनै हिच्किच्याउँथे– उनीहरूको भूगोल, लवाइखुवाइ, बोलीचाली, जात, थर देखेर ।
यसबारे नेपाल आदिवासी–जनजाति महासंघकी सचिव सोनाम याङ्की लामाको ०५८ सालको एउटा अनुभव छ । त्यतिबेला उनको माइतीथलो जुम्लामा एउटा राजनीतिक दलले अभियान चलाइरहेको थियो । अभियानलाई उनले नजिकबाट नियालेकी थिइन् र साथ दिइन् । तर, खस–आर्यले मात्रै सदस्यता पाए । तामाङ, लामा थर लेखेकाहरूलाई सदस्यता दिइएन । उनलाई लाग्थ्यो– आदिवासी–जनजातिलाई नेतृत्व गर्ने व्यक्तिको खाँचो छ । सोच्थिन्, राजनीतिक मुद्दा बनाएर अगाडि लैजान सके यो समुदायले पनि अरूसरह सचेत हुन्थे र प्राकृतिक स्रोतसाधनमा अधिकार राख्थे । उनको बुझाइमा अवसरबाट वञ्चित गराइएकाले नै यी महिला राज्य सञ्चालन तहमा पछाडि परे ।
आदिवासी–जनजाति महिलाको पछिल्लो समयको सहभागिता हेर्ने हो भने त्यो एक हिसाबले छलाङ हो । तर, लोकतान्त्रिक मुलुकमा यस समुदायका महिलाले नेतृत्व गर्ने, निर्णय गर्ने, कार्यान्वयन गर्ने अधिकार धेरै महत्त्वपूर्ण हुन्छ । खड्किएको विषय नै यही हो– आदिवासी–जनजाति महिलाले लामो उडान भर्नै बाँकी छ । अहिले उनीहरू आफ्ना
मुद्दालाई केन्द्रीय तहको मुद्दा नबनाएसम्म अर्थपूर्ण सहभागिता सुनिश्चित हुन सक्दैन भन्ने निष्कर्षमा पुगेका छन् ।

कोसेली

इन्द्रचोकको मायावी कथा

- सुरेश किरण

 


भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान थियो ।
त्यसो त यस सहरलाई ‘कान्तिपुर’ अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’ बाट आएको हो । र, ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक ।
इन्द्रचोकमा धेरैले देखेकै मन्दिर हो– श्री आकाश भैरव, जसलाई स्थानीय नेवाः समुदाय ‘आजुद्यः’ भन्छन् । त्यही आकाश भैरवको भव्य मन्दिरसामुन्ने बीच सडकमा एउटा सानो खाल्डो छ । सामान्यतया कसैको ध्यान नजाने खाल्डोलाई हाल सानो रेलिङको बारले घेरिएको छ । खाल्डोभित्रको एउटा ढुंगा नै कान्तीश्वर महादेव हो । हेर्दा केवल ढुंगा हो, तर ढुंगा यति शक्तिशाली छ कि त्यसैको नाम सापटी लिई यस ऐतिहासिक महानगरको नामाकरण गरिएको छ । र, विडम्बना यो सहरको नाम जुन स्रोतबाट निःसृत छ, आज त्यो सडकबीचको एक ढुंगामै सीमित छ । वंशावलीमा लेखिएको छ– विसं ७८१ मा राजा गुणकामदेवले कान्तिपुर नगर बसाएका हुन् । त्यसो त यो तथ्यमा समयकाल र राजाको नाम नमिलेको भन्ने पनि इतिहासकारहरूको कथन छ । तैपनि धेरैको सहमति छ– कान्तिपुर नगर बनाउँदा सहरको सुरक्षार्थ आठ दिशामा आठवटै मातृका (अष्टमातृका) खडा गरी तिनै मातृकाले बोक्ने खड्ग आकारमा यो नगर निर्माण गरिएको थियो । आठ कोणवाला त्यो खड्गाकार सहरबीचमा रहेको भूभागचाहिँ इन्द्रचोक रहेछ । त्यसैले इन्द्रचोकलाई मध्यकालीन कान्तिपुर सहरको ‘सेन्टर’ मान्न सकिन्छ ।
इन्द्रचोकलाई ‘इन्द्रचोक’ नामबाटै चिनिन्छ । तर, यहाँ इन्द्रदेवको अस्तित्व छैन । यहाँ न इन्द्रको मूर्ति छ, न छ मन्दिर । तैपनि यो चोकलाई ‘इन्द्रचोक’ भनिनु अनौठो विषय हो । इन्द्रजात्राका बेला बर्सेनि काठमाडौंका विभिन्न चार स्थानमा काठका लामा खम्बाहरू उठाएर आसन बनाई इन्द्रको मूर्ति प्रदर्शन गर्ने चलन छ । ती चार स्थानमध्ये एक इन्द्रचोक हो । तर, इन्द्र–मूर्ति प्रदर्शनकै आधारमा यसलाई इन्द्रचोक भनियो भन्नु तर्कसंगत छैन । किनभने इन्द्रको मूर्ति प्रदर्शन गरिने अन्य स्थानलाई इन्द्रचोक भनिँदैन । बरु एउटा कथा छ, भन्छु है त–
इन्द्रचोकमा कुनै बेला एउटा पोखरी थियो– कालमोचन पोखरी । जसले गुँला पर्वमा (भदौ–असोज महिनातिर) उक्त पोखरीमा स्नान गरी सँगैको जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को दर्शन गर्छ, उसले मृत्युपछि यमलोक जानुपर्दैन, सीधै सुखावती भुवनमा बास पाउँछ भने विश्वास गरिन्थ्यो । किंवदन्ती भन्छ– एक दिन उक्त कालमोचन पोखरीमा स्वयम् देवराज इन्द्र आई स्नान गरे र यस स्थानको नामै ‘इन्द्रचोक’ राखियो । तर, यो किंवदन्तीको तर्कमाथि पनि सन्देह गर्न सकिन्छ । किनभने कान्तिपुरका लागि ‘इन्द्रचोक’ पूरै नयाँ र आयातित शब्द हो । यसले यहाँको स्थान–नामसम्बन्धी दर्शनलाई बोकेको देखिँदैन ।
बरु वंशावलीहरूमा इन्द्रचोकबारे एउटा महत्त्वपूर्ण कुरा लेखिएको छ । कुनै बेला काठमाडौंमा बहने वाग्मती र विष्णुमती खोला एकापसमा जोडिने दोभान नै इन्द्रचोक हो । वाग्मती र विष्णुमती काठमाडौंको सभ्यता विकाससँग जोडिएका दुई महत्त्वपूर्ण नदीहरू हुन् । यी दुई नदी इन्द्रचोकमा आएर जोडिने र त्यसपछि एउटै नदी भएर बग्ने कुरा विभिन्न वंशावलीमा लेखिएको छ । त्यसैले यसलाई ‘ह्वंगः’ भनिन्थ्यो । स्थानीय नेपालभाषामा ‘ह्वंगः’ को अर्थ दोभान हुन्छ । विश्वास गरिन्छ– ‘ह्वंगः’ शब्द अपभ्रंस हुँदै ‘वंगः’ बन्न गएको हो । इन्द्रचोकको स्थानीय नेवाः नाम अहिले पनि ‘वंगः’ नै हो । कालान्तरमा त्यो दोभान सर्दै गएर अहिलेको टेकुसम्म पुगेको मानिन्छ ।
तर, वंशावलीले यसो भने पनि पुरातत्त्वले त्यो तथ्य मानेको छैन । किनभने इन्द्रचोकमा नदी हुनुको कुनै पनि अवशेष अहिलेसम्म भेटिएको छैन । बरु अहिले चुरा–पोते बेच्ने इन्द्रचोककै ‘राखी बजार’ मा ढुंगाका घडाहरू राखिएका छन् । घडालाई नेपालभाषामा ‘घः’ भनिन्छ । घडाहरूमा सधैंभरि लेउ लागिरहन्छ । लेउ लाग्नुलाई नेपालभाषामा ‘वथं गयेगु’ भनिन्छ । त्यसरी सधैं ‘वथं गयेगु’ भइरहने ‘घः’ भएकै कारण त्यसलाई ‘वंघः’ भनिएको र ‘वंघः’ नै कालान्तरमा ‘वंगः’ बन्न गएको कथन पनि छ । ढुंगाले बनाइएका घडाहरूकै आधारमा काठमाडौंका धेरै टोलको नाम रहन गएको छ । जस्तो ः न्हूघः (जैशीदेवल क्षेत्र), नःघः (बांगेमुढा क्षेत्र), सीघः (त्यहीं सँगै), त्यंघः (नरदेवी क्षेत्र) आदि । वंघः तिनैमध्ये एउटा हो ।
इन्द्रचोकको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण सम्पदा त्यहाँ अवस्थित आकाश भैरव (आजुद्यः) को मन्दिर हो । मन्दिरभित्र आकाश भैरवको शिर मात्रै भएको मूर्ति छ । यो शिरलाई पहिलो किराती राजा यलम्बरको शिर पनि भनिन्छ । नेपालको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने किरातवंश हो । उनीहरूले करिब आठ सय वर्ष राज गरे । पहिलो किराती राजा यलम्बरको नामबाटै ‘येँ’ शब्द उत्पत्ति भएको कथन छ । काठमाडौंको सबैभन्दा पुरानो नाम ‘येँ’ हो । उपत्यकावासीहरू अहिले पनि काठमाडौंलाई ‘येँ देय्’ भन्ने गर्छन् । यसरी काठमाडौंको नामकरणमै इन्द्रचोकको महत्त्वपूर्ण भूमिका छ ।
माथि भनिएझैं इन्द्रचोकमा इन्द्रको अस्तित्व देखिँदैन, तर भौगोलिक रूपले यो काठमाडौंको पुरानोमध्येकै एउटा महत्त्वपूर्ण चोक हो । विभिन्न ठाउँ आउ–जाउ गर्ने ६ वटा बाटो एकै ठाउँमा आएर मिसिएको छ– इन्द्रचोकमा । इन्द्रचोकले मखन टोल, असन टोल, वटु टोल, किलागल टोल, न्युरोड र च्वखाछेँ गल्लीसमेत गरी ६ वटा बाटालाई जोडेको छ । तीमध्ये मखनटोलबाट असन जाने सीधा बाटो लिच्छविकालीन ‘ट्रेड रुट’ हो । यो बाटाले प्राचीनकालीन काठमाडौंको माथिल्लो क्षेत्र यम्बु (कोलिग्राम) र तल्लो क्षेत्र याग्ल (दक्षिण कोलिग्राम) लाई जोडेको छ ।
इन्द्रचोकबाट न्युरोड जाने फराकिलो बाटोचाहिँ विसं १९९० को भूकम्पपछि मात्रै खोलिएको हो । भूकम्पपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले नयाँसडक बनाउँदा न्युरोड–इन्द्रचोक जोड्ने नयाँ बाटो खोलेका हुन् । नब्बे सालअघि त्यहाँ बाटो थिएन, स्थानीय जनताको घर–बारी थियो । हनुमानढोका दरबारको एउटा भाग पनि त्यहींसम्मै फैलिएको थियो । नयाँ बाटो खोल्न जुद्धशमशेरले आकाश भैरव मन्दिरसामुन्नेको एउटा सांस्कृतिक दबू (डबली) पनि हटाएका थिए । त्यस डबलीमा हरेक इन्द्रजात्रा पर्वमा कुमारीको रथयात्रा गर्दा देवीनाच (दीप्याखं) देखाउने चलन थियो । अहिले डबली रहेको त्यहि ठाउँमा भुइँमै दीप्याखं देखाउने गरिन्छ । यो बाटो बनाउन हनुमानढोका दरबार क्षेत्रको एउटा ठूलो भूभागलाई पनि प्रयोग गरिएको थियो । अहिले यो बाटोको नाम शुक्रपथ हो ।
न्युरोड निर्माणका बेला इन्द्रचोकको कान्तीश्वर महादेव पनि झन्डै पुर्न लागिएको थियो । स्थानीयवासीको पहलमा महादेव पुरिएनन्, तर पिचको सतह बढ्दा महादेव बास बसेको खाल्डो भने भुइँबाट निकै तल पुग्यो ।
राजा गुणकामदेवलाई देवी लक्ष्मीले सपनामा आएर इन्द्रचोकलाई बीचमा पारी नयाँ देश बनाउन आदेश दिएको प्रसंग वंशावलीमा छ । वंशावली भन्छ– आफू सदैव बास बस्ने भएकाले इन्द्रचोकमा दैनिक धेरै धन–पैसाको कारोबार हुन्छ भनेकी थिइन् रे लक्ष्मीले गुणकामदेवलाई । तर, इन्द्रचोक असनजस्तो विशुद्ध बजार होइन । यहाँ असनमाझैं नुनदेखि सुनसम्म किन्न पाइने बजार संरचना पनि छैन ।
इन्द्रचोकबाट पश्चिमतिर बढ्दा केल टोल पुगिन्छ । ‘केल टोल’ लाई ‘कोलिग्राम’ को अपभ्रंस शब्द मानिन्छ । भारतबाट आएका कोलीयहरू बसोबास गरेको ठाउँ भएकाले उक्त स्थानलाई कोलिग्राम भनिएको थियो । कोलिग्राम नै अहिलेको ‘केल टोल’ हो । अतः यो लिच्छविकालीन क्षेत्र हो ।
केल टोलकै नजिक किलागल टोल छ । किलागल टोलमा अझै नेवाः समुदायका ‘सापू’ र ‘म्येय्पू’ जातिका मानिसको बसोबास छ । सापू गाई पाल्ने र म्येय्पू भैंसी पाल्ने समुदाय हो । नेपालमा किरात वंशभन्दा अघि गाईपालक ‘गोपालवंशी’ र भैंसीपालक ‘महिषपालवंशी’ को शासन थियो । नेपालको प्राचीन इतिहासमा महिषपाल–वंश हटाएर किरात–वंश सुरु भएको र किरात–वंश हटाएर लिच्छवि–वंशको शासन सुरु भएको वर्णन छ ।
नेपाली प्राचीन इतिहासको प्रारम्भकालीन गोपाल, महिषपाल, किरात र लिच्छविकालको सजीव किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । यो चोकमाथि कुनै पुरातात्त्विक खोज त गरिएको छैन । तर, काठमाडौं सहरको मायावी चरित्रलाई इन्द्रचोकसँग
जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

 

Page 9
कोसेली

लोककविज्यू, आकाशमा बादलु डम्मै छ !

- सरुभक्त

 

स्मृति विम्ब
जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा
नाचेको हुन्छ नेपाली गाउँ र ब्याँसी फाँटैमा
खाँटी नेपालीत्वको महिमायुक्त गीत गायन गर्ने लोककवि अली मियाँले यो धर्तीमा जन्मेर, लामो सिर्जनात्मक जीवन बाँचेर नश्वर देह त्याग गरेको पनि चौध पन्ध्र वर्ष बितिसकेछ । यो डेढ दशकको समयावधिमा उनको अनुपस्थितिलाई हामीले कति अनुभूत गरेका छौं, अनुपस्थितिमा उपस्थितिको कति आभास सिर्जना गरेका छौं, सायद यो एक अमूर्तजस्तो कुरा हुन सक्छ । तर, सत्यको अर्को पाटो पनि छ, जहाँ उनी हामी पोखरेली र समग्रमा नेपाली साहित्य–वाङ्मय प्रेमीहरूका स्मृतिविम्बमा विस्मृन भएका छैनन् ।
अली मियाँ स्मृतिहरूमा जीवित छन् । र, सायद आफ्नो जीवनकालमा भन्दा बढी जीवित र अमर हुने एउटा शाश्वत् ब्रह्माण्डीय यात्रामा छन् । अनायास मलाई स्मरण हुन्छ उनको मृत्युको । उनी लामो समयदेखि मृत्युशय्यामा थिए । हामी पोखरेली वाङ्मय सेवकहरू बेलाबेला उनको अवस्था बुझ्न मियाँपाटनस्थित उनको निवास गइरहन्थ्यौं, जान नसकिएको अवस्थामा पनि खबर लिइरहन्थ्यौं । उनको अवश्यम्भावी मृत्युको खबर कुनै पनि निकटका दिनमा सुन्नुपर्ने अप्रिय अवस्थामा हामी गुज्रिरहेका थियौं । जब मृत्युको खबर आयो, हामीले सम्पर्कमा रहेका साहित्यकार, कलाकार र अन्य व्यक्तिलाई सूचना–प्रवाह गर्‍यौं । बिहानै मियाँपाटनतर्फ सोझियौं ।
पोखराको मुख्य बजार क्षेत्रबाट पैदलयात्रा गर्दा एक–डेढ घण्टा परको दूरीमा पर्ने कुँडहर–मियाँपाटन पुग्दा स्थानीय बासिन्दाहरू भेला भइरहेका थिए । निवासभित्र परिवारजन र मियाँहरूको उपस्थिति थियो । मुसलमान धर्म र परम्पराअनुसार मृत्युपछि गरिने संस्कारका क्रम चलिरहेका थिए । हामीले घरबाहिरै बसेर प्रतीक्षा गरिरह्यौं । मलामी जान पोखराका साहित्यकार, कलाकार, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक जीवनका गन्यमान्य व्यक्तिहरू र सर्वसाधारणको उपस्थिति भइरहेको थियो । अन्ततः शवयात्रा आरम्भ भयो । हजारौं पोखरेली शवयात्रामा सामेल भए ।
मियाँपाटनबाट केही समयको सन्निकट दूरीमा अवस्थित डाँडोमा मियाँहरूको चिहानस्थल रहेछ । चिहानस्थलमा खाल्डो खनेर धरतीमा समाधिस्थ गराउने मियाँहरूको परम्परा रहेछ । केही समयको प्रतीक्षापछि मुसलमान धर्म–परम्पराअनुसार, लोककविलाई समाधिस्थ गर्ने प्रक्रिया आरम्भ भयो । विभिन्न जात, धर्म, सम्प्रदाय र परम्पराका हजारौं पोखरेलीले भावपूर्वक श्रद्धाञ्जली चढाए । मेरो स्मृतिविम्बमा अनेक तस्बिर नाचे–चल्मलाए ।
लोककविप्रति पोखरेलीहरूको अपार श्रद्धा देखेर, लोकसाहित्य वाङ्मयमा भएको अपूरणीय क्षतिलाई महसुस गरेर मेरा आँखा रसाए । अनायास मलाई दशकौं पहिले ‘पोखरेली युवा सांस्कृतिक परिवार’ (पोयुसांप) को आयोजनामा उनीसित वागलुङमा कविता यात्रा गरेको सम्झना भयो । कविता यात्रामा परिवारसित सम्बद्ध कविहरूको एउटा ठूलो डफ्फै थियो । अली मियाँ परिवारका सम्मानित आजीवन सदस्य र अग्रजन्य कवि थिए ।
त्यसताका पोखरा–वागलुङ राजमार्ग पिच भइसकेको थिएन । ‘बाइरोडको बाटोमा धूलो उडाउँदै’ भनी कुनै गीतले भनेझैं कतै ग्राभेलिङ गरिएको, कतै धूलाम्मे राजमार्गमा अधिकांश स्थानमा धूलो उडाउँदै केही साना सवारी साधन चल्थे । हामी त्यस्तै सवारीमा सवार भई पोखराबाट वागलुङतर्फ लाग्यौं । नौडाँडा, काँडे, लुम्ले हुँदै गाडी धेरै पर पुगेपछि एक अज्ञात स्थलमा (हाम्रो लागि) घ्याच्च रोकियो । चालकले गाडी अगाडि जान नसक्ने घोषणा गरे । हामी कविहरू निरुपाय भई पैदल हिँड्न थाल्यौं ।
अली मियाँ ढल्केको उमेरमा पनि फटाफट अघि लागे । हामी युवाहरू पछि लाग्यौं । आधाभन्दा बढी दिनको पैदलयात्रापछि वागलुङ बजार पुग्यौं । रात परिसकेको थियो । होटलमा भोजन गरेर विश्राम गर्नुको कुनै विकल्प थिएन । सुत्ने बेला लोककवि र हामीमध्ये केही एउटा ठूलो कोठामा पुग्यौं, उनका कुराहरू सुन्न थाल्यौं, निरन्तर कुरा गराइको ऊर्जाले उनी थाकेको आभास हुन्थेन । मलाई लाग्यो, लोकगीत गाउँदै जवानीका दिनहरूमा अनेक डाँडाकाँडा हिँडेका लोककविका अभ्यस्त गोडाहरू यत्ति छोटो यात्राले किन थाक्न मान्थे र !
लोककवि कुरा गर्दागर्दै गीत गाउँथे, गीत गाउँगाउँदै कुरा गर्थे । कति बेला कुरा गर्दै छन् कि गीत गाउँदै छन्, छुट्याउन गाह्रो पर्थ्यो । आधारातसम्म हामी उनका कुरामा बगिरह्यौं । कुरा गर्दा चुरोट सल्काउँथे, बीचतिर पुगेपछि ठुटो पार्थे, फेरि त्यही ठुटो चुरोट सल्काइहाल्थे । चुरोट तानेपछि चुरोटको धूवाँ फाल्ने क्रममा ख्वाई–ख्वाई खोक्थे । कहिले त एक सर्को चुरोट तानेपछि अर्को सर्को तान्न नसकेर लामो समयसम्म खोकिरहन्थे । त्यसले कुराकानीमा बाधा उत्पन्न गर्थ्यो ।
‘लोककविजी, अब चुरोट पिउन कम गर्नुहोला, पछि नराम्रो गर्छ,’ एकपल्ट मैले सम्झाउने आँट गरेँ ।
‘मर्न सकिन्छ, चुरोट छोड्न सकिँदैन बाबु !’ उनले भने ।
स्मृतिविम्बमा सुरक्षित पछिल्लो एक स्मृति । लोककवि ओछ्यान परेका छन् भन्ने खबर आएपछि– उनको मृत्युभन्दा केही साता पहिले– कवि तीर्थ श्रेष्ठ र म उनलाई भेट्न गएका थियौं । हामीभन्दा पाका उनका जेठा पुत्र हनिफ मियाँले हामीलाई उनी सुतिरहेको कोठामा लिई गए । कोठा अपेक्षाकृत अँध्यारो थियो । उनी कोठाको एउटा कुनोको खाटमा भित्तातिर फर्केर सुतेका थिए । खाटछेउको कुर्सीमा उनले छोरीसरह मान्ने लोकगायिका हरिदेवी कोइराला बसिरहेकी थिइन् ।
‘नमस्कार लोककविज्यू !’ हामीले ध्यानाकृष्ट गर्ने कोसिस गर्‍यौं । उनले अभिवादन फर्काएनन् । जीउ फर्काएर पनि हेरेनन् । सधैं हामीलाई देखी कुरा गर्न ऊर्जाप्रेरित हुने उनको यो व्यवहार सामान्य थिएन, तर हामीले सम्झ्यौ– बूढेसकालको रोगले शिथिल भएको शरीरको अवस्था यस्तै हो ।
हनिफ दाइ र हरिदेवीबाट उनको स्वास्थ्यसम्बन्धी जानकारी लियौं । अकस्मात् हनिफ दाइले रहस्योद्घाटन गरे– ‘के गर्ने बाबुहरू, बुबालाई यस्तो बेला चुरोट पिउनुहुन्न भनेर प्रतिबन्ध लाएको, रिसाइराख्नुभएको छ । बोल्नु नै हुन्न ।’
बूढो मानिसले तलतलको वशवर्ती भई केटाकेटी स्वभाव देखाइरहेका थिए । हामीले चुरोटको विपक्षमा सानोतिनो वक्तव्य दियौं । उनी यथावत् भित्तातिर मुख फर्काई सुतिरहे । हार खाएर हनिफ दाइले भने– ‘बुबा, तपाई चुरोट खाने जिद्दी गर्नुहुन्छ भने ल एक प्याकेट ल्याएर राखिदिन्छु, तर यसरी नरिसाउनुहोस् । सरु बाबु र तीर्थ बाबु आउनुभएको थाहा पाउनुभएन ?’
प्रत्युत्तरविहीन । प्रतिक्रियाविहीन । महाकविको चुरोट प्रेमझैं अली मियाँको चुरोटप्रेमले जीउमा क्यान्सर ननिम्त्याए पनि उनको श्वासप्रश्वाससम्बन्धी समस्या बाथ र स्नायुसम्बन्धी समस्यामा त्यसले निर्णायक असर पारेन होला भन्न सकिन्न । चुरोटमोह समयमै त्याग गर्न सकेका भए सायद उनले सहजै शतायु उमेर पार गर्थे ।

इतिहास विम्ब
अली मियाँले शतायु उमेर पार गर्न पाएनन्, तर दीर्घजीवन बाँच्ने सौभाग्य भने प्राप्त गरे । जीवनका अनेक दुर्भाग्य भोगेर ८८ वर्षको दीर्घजीवन बाँच्ने सौभाग्य प्राप्त गर्नु, पछिल्ला केही वर्ष रोगहरूले ओछ्यान परे पनि अधिकांश जीवन क्रियात्मक रूपले बिताउन सक्नुलाई कम आँक्न मिल्दैन । म कल्पना गर्छु, सय वर्षपूर्व विसं १९७५ मा अली मियाँको जन्म हुँदा सुन्दर हिमाली उपत्यका पोखरा कति सुन्दर, कति प्राकृत र कति अल्प बसोबासयुक्त स्थल थियो होला । कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले काठमाडौं उपत्यका–भक्तपुरबाट छब्बीस कुरिया नेवारहरूलाई पोखरामा ल्याई बजार बसाएपछि र ती नेवार परिवारहरूले हटिया टाइप बजार स्थापनाका साथै अनेक सांस्कृतिक कर्म गर्न थालेपछि पोखराको विशुद्ध ग्रामीण इतिहासले आधुनिकतातर्फ पाइला बढायो होला । भीमसेनथानको भीमसेनको अग्रपूजामा विश्वास गर्ने नेवारहरूले त्यही थानवरपर केही टोलमा बजारको विकास गरे पनि पोखराको सुदूरपूर्व दक्षिण भागको कुँडहर फाँट, मौलाको पाटनपछि मियाँ पाटनमा जन्मेका अली मियाँको घरपरिवेश ग्रामीण नै थियो । उनी जन्मँदा मौलाको पाटनमा कति मुसलमान परिवार थिए थाहा छैन । भारतबाट नेपालमा मुसलमानहरूको आगमन बाइसे–चौबीसे राजाहरूको पालादेखि नै भएको मानिन्छ । पृथ्वीनारायण शाहले युद्धकालीन हतियार निर्माण गरिदिने कालिगडको रूपमा पनि मुसलमानलाई झिकाएका थिए । अवश्य त्यस समयको आवश्यकताअनुसार, झिकाइएका मुसलमानहरू हतियार बनाउने दक्ष कालिगड थिए होलान् । सायद बाइसे–चौबीसे राजाहरूको समयदेखि नै दरबारका महिलाहरूको शृङ्गारका लागि पनि मुसलमानहरू झिकाइएका थिए । भारतमा मुसलमानहरू कालिगडका रूपमा मात्र होइन, शृङ्गार–प्रशाधन बेच्ने व्यापारीका रूपमा पनि चर्चित थिए । यसरी विभिन्न प्रयोजनमा आएका मुसलमानहरू नेपालमै बस्न र व्यवसायमा संलग्न हुन थाले । पोखरामा विभिन्न टोलमा बसोबास गर्ने मुसलमानहरूले मुख्य रूपले चुराको व्यापार गर्थे । त्यसैले अरूले उनीहरूलाई ‘चुरेटा’ भन्ने चलन थियो ।
अली मियाँको पारिवारिक स्रोतअनुसार, उनीहरू कास्कीका राजा कुलमण्डल शाहले भारतको लखनउबाट अङ्गरक्षकको रूपमा लिई आएका मोहमद हुसेनका सन्तान हुन् । लखनउका बादशाहले कुलमण्डल शाहको सुरक्षाका लागि मोहमद हुसेनलाई खटाएको भनिन्छ । पछि उनी विश्वासप्राप्त भएपछि र सम्भवतः उनको बहादुरीबाट प्रभावित भई कुलमण्डल शाहले उनलाई कास्की लिई आएका थिए र बहादुर अली नाम दिएका थिए । यस अर्थमा अली मियाँ सैनिक वंशमा जन्मेका थिए । आफ्नो युवावस्थामा उनी भारतीय सेनामा भर्ती पनि भएका थिए । दोस्रो महासमरमा उनी बर्मा फ्रन्टमा जापानीहरूसित लड्न पुगेका थिए । छुट्टीमा घर आएपछि फेरि फर्केनन्, नाम कटनी गरी यसै बसे । अनि धेरै कालपछि उनले यस्तो लेखे ः
त्यो मायाले जाउँ लाहुर भन्थ्यो
दुःख पाउने करिमै के मान्थ्यो
नेपालीहरूको विदेश जानुपर्ने बाध्यतालाई मात्र होइन, अनुभवजन्य तिक्तता र राष्ट्रियतालाई उनले यसरी पनि अभिव्यक्ति दिएका छन् ः
विदेशको मीठोभन्दा आफ्नै देशको पिठो
जान्न म त विदेशमा बरु खाउँला गिठो
नजाउ न कान्छा दाइ विदेश, बनाउनु छ आफ्नै यो देश
परिवेश विम्ब
‘घर पनि छैन दाइ मेरो, डर पनि लाग्दैन कसैको’ भनी ठान्ने अली मियाँ ‘यो दुःखी रोएको किन कहिल्यै पनि फर्केन सुदिन’ भनी कारुणिक स्वर लहरीमा हृदय खोलेर गीत गाउँदै हिँड्थे । कवि बन्न दुःखै पाउनुपर्ने पुर्पुरोमा लेखिएको हुनुपर्ने रहेछ कि, थाहा भएन, तर अली मियाँले जीवनमा असंख्य दुःख पाए । दीन मोहम्मद र जाहुरा मियाँको तेह्रौं तथा कान्छो सन्तानका रूपमा जन्मेका अली मियाँले दोस्रो वर्ष नटेक्दै आमाको निधन भयो । त्यसको अर्को वर्ष नै बुबाको निधन भयो । तीन वर्षको उमेरमा पूरै टुहुरा बनेका उनी दाजु–भाउजूको संरक्षणमा हुर्के । त्यति धेरै भाइ–बहिनीहरू र आफ्नै सन्तानहरूलाई हुर्काउनुपर्ने जिम्मेवारीबीच दाजु–भाउजूको हैसियतको पनि एउटा निश्चित सीमा भयो होला । त्यही सीमाका अभाव र अप्रियताबाट सामयिक रूपले टाढा हुनका लागि पनि अली मियाँ बाल्यजीवनभर कुँडहरका फाँटहरू, वनहरूतिर रमाउन थाले । अरूले गाएका मीठा गीतहरू सुन्न र टिप्न थाले । गाउने अभ्यास गर्न थाले ।
लोकगीत, लोकसंगीत र लोकसाहित्यको पाठशालामा उनको स्वअध्ययन, स्वप्रशिक्षण, स्वअभ्यास आरम्भ भयो । किशोरावस्थामा पदार्पण गरेपछि मेलापात जाने, खेताला जाने र गीत गाउने क्रम चल्यो । यही क्रम अघि बढ्दै गएपछि युवावस्थामा टाढा टाढासम्म यात्रा गरी रात–रातभर दोहोरी गीत गाउने क्रम चल्यो । वृद्धावस्थामा सुरिलो भाखामा मीठो गाउने उनी जवानीका दिनमा कति रन्केर गाउँथे होलान् । गीत गाएरै उनले उनानब्बे सालमा पहिलो श्रीमती ल्याए । उनको मृत्युपछि चार सालमा दोस्रो श्रीमती ल्याए । अठार सालमा दोस्रो श्रीमतीको पनि मृत्यु भएपछि बीस सालमा तेस्रो श्रीमतीसित विवाह गरे । तीस सालमा तेस्रो श्रीमतीको पनि दुर्भाग्यपूर्ण मृत्यु भयो । तीन जना श्रीमतीबाट चौध सन्तानका पिता बनेका उनका सात सन्तानको पनि अकालैमा मृत्यु भयो ।
यति धेरै पारिवारिक दुःख अली मियाँले कसरी सहे होलान् ? बाँचेका सन्तानलाई उनले कति सङ्घर्ष गरी हुर्काए होलान् ? अनि कनीकुथी अक्षर चिनेर, आफैं लेख्न सिकेर पनि धेरै मार्मिक गीतहरू उनले कसरी लेखे होलान् ? मलाई अली मियाँ एक चरम दुःखको कथाको नायकजस्तो लाग्छ, जहाँ नायकले आत्महत्याको कायरतापूर्ण बाटो नरोजेर सङ्घर्ष र सिर्जनापूर्ण वीरताको बाटो रोज्छन् !

सिर्जना विम्ब
अली मियाँको पहिलो कृति ‘विरक्त लहरी’ विक्रमाब्द ६ सालमा प्रकाशित भएको अभिलेख छ । त्यसपछि उनको ‘नेपाली झ्याउरे गीत संग्रह’ एघार सालमा, ‘न्याउलीको पुकार’ बाह्र सालमा, ‘पहाडको
उद्गार’ पन्ध्र सालमा, ‘सेतीको सुस्केरा’ उनन्तीस सालमा, ‘उज्यालो भैसक्यो’ उनन्चालीस सालमा, ‘सम्झनाको दियो (पूर्वप्रकाशित रचनाहरूसहित) एकाउन्न सालमा प्रकाशित भएको देखिन्छ ।
अड्तीस सालमा ‘अली मियाँ’ नामक उनको आत्मकथन पनि प्रकाशित भएको थियो । उनको आवाजमा केही गीत पनि रेकर्ड भएका थिए ।
आफ्नो पहिलो कृति प्रकाशित हुँदा उनी एकतीस वर्षका थिए । कहिले ‘सुन्न पाए मुरली रन्को, पीर पनि हराउँथ्यो यो मन्को’ भन्दै, कहिले ‘यो वनमा छैन कि चरी, चरी भए बोल्दो हो क्यै गरी’ भनी पोखरा र आसपासका गाउँघर, रनवनमा डुल्दै, गीत गाउँदै हिँड्ने अली मियाँले वीस–बाइस वर्षको उमेरमा अक्षर चिनी कनीकुथी लेख्दा उनलाई कति भाषिक समस्या पर्‍यो होला ! तर, भाषासित जुध्दै सिर्जनाको बाटोमा अग्रसर भइरहने अभीप्सा देखाए । भनिन्छ, पहिलेपहिले उनलाई भाषिक अशुद्धि सच्याइदिने र कविताहरू साफी गरिदिने काममा साहित्यानुरागी ठाकुर सिग्देल र कवि तारा पाखेले सघाउने गर्थे । बीसको दशकसम्म पोखरामा न्यून संख्यामा साहित्यिक कार्यक्रम हुन्थे, साहित्य पठन गर्नेको सङ्ख्या पनि न्यून थियो, त्यसैले अली मियाँको प्रतिभा सानो स्थानीय घेरामा मात्रै सीमित हुन अभिशप्त थियो । पोखराकै बाटुलेचौर निवासी जनकविकेशरी धर्मराज थापा राष्ट्रिय स्तरमा देशभित्र र बाहिर चर्चित भइसकेको अवस्थामा पनि उनी राष्ट्रिय स्तरमा, नेपाली साहित्यको मूल प्रवाहमा अपरिचित थिए । यो अपरिचयको पर्खाल भत्काउन र उनलाई राष्ट्रिय स्तरमा ‘लोककवि’ भनी स्थापित गराउन पोयुसांपले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
विक्रमाब्द चौंतीस सालमा हामी साहित्य/संगीतप्रेमी केही युवाले मिलेर ‘पोयुसांप’ स्थापना गरेका थियौं । पैंतीस सालबाट टिकटमा मुक्तक कार्यक्रम, सामूहिक साहित्यिक जयन्ती, अन्य स्थानीय र राष्ट्रिय स्तरका कवि गोष्ठीहरू गर्न थालेपछि हामीले पुराना अनुज कविहरू खोज्न थाल्यौं । मुकुन्दशरण उपाध्याय, भोलानाथ पराजुली, किञ्जल्क, तेजनाथ घिमिरे आदि अग्रज कविहरू भेटिए । त्यहीक्रममा अली मियाँ भेटिए । जनकविकेशरी धर्मराज थापा कहिलेकाहीँ काठमाडौंबाट पोखरा आएको अवस्थामा मात्रै भेटिन्थे ।
हाम्रा कार्यक्रमहरू पोखराको बीचबाट बग्ने सेती खोलावारिका मुख्य बजार क्षेत्रमा हुन्थे । अली मियाँ सेती खोलापारि टाढै बस्थे । उनलाई कार्यक्रमको निम्ता दिन कि एक–डेढ घन्टा तड्केर पैदल हिँड्नुपर्थ्यो, कि साइकलमा हुइँकिनुपर्थ्यो । त्यसताका अली मियाँ प्रायः मियाँपाटन निकटको रामबजारस्थित भारतीय पेन्सन क्याम्पअगाडितिर पेटीमा एउटा सानो कपडा ओछ्याई त्यसमाथि चुरा, धागो, पोते, काइँयो, अन्य शृङ्गारका थोरै सामान राखेर पलेँटी कसिरहेका हुन्थे । हामीलाई देख्नासाथ खुसीले पुलकित हुन्थे । व्यापार गर्न बिर्सेर अनेक कुरा सुनाउँथे । कुरामा गीतका गेडीहरू मिसिहाल्थे ।
पोयुसांपका हामी सबै नवराज कार्की, उषा शेरचन, तीर्थ श्रेष्ठ, विनोद गौचन, प्रकट पगेनी शिव, बद्रीविनोद प्रतीक, विजय बजिमय आदि गद्य कवि थियौं, तर साहित्यमा अग्रजहरूको सम्मान हुनुपर्छ, छन्द र लोकगीति परम्परालाई जीवित राख्न हामीले पनि भूमिका खेल्नुपर्छ भन्ने विश्वास राख्थ्यौं । त्यहीकारण हामी अली मियाँलाई कुनै पनि कार्यक्रममा नछुटाएर अग्रासनमा राख्थ्यौं र उनलाई ‘लोककवि’ भनी सम्बोधन गर्थ्यौं । अली मियाँ मुक्तक रच्दैनथे, तर हामी उनलाई ‘टिकटमा मुक्तक कार्यक्रम’ मा पनि सहभागी गराउँथ्यौ । उनी आफ्नै खालका मुक्तक रचेर सुनाउँथे ।
वर्षको एक–दुईपल्ट हुने राष्ट्रियस्तरका साहित्यिक कार्यक्रममा देशका विभिन्न भागबाट वरिष्ठ साहित्यकारहरू र समकालीन साहित्यकारहरूलाई हामी आमन्त्रण गर्थ्यौं । ती सबैले अली मियाँलाई पोखराका लोककवि भनी चिन्न र सम्बोधन गर्न थालेका थिए ।
पोयुसांपले अली मियाँलाई लोक–कविताधाराको प्रतिनिधि कवि मानेर सुरुदेखि नै सम्मानित आजीवन सदस्यता प्रदान गरेको थियो । त्यसैले उनी पोयुसांपलाई आफ्नो घर भन्थे, थकाइ मार्ने चौतारी भन्थे । जुनसुकै कार्यक्रममा पनि आउन, जहाँ पनि जान तत्पर रहन्थे ।
अठतीस सालमा म स्नातकोत्तर तहमा अध्ययन गर्न कीर्तिपुर क्याम्पस पुगेको थिएँ । एक दिन पाटनतिर घुम्न जाँदा पाटनढोकातिरको मदन पुरस्कार गुठीको गेटभित्र छिरेँ । नजिकै एउटा राणाकालीन भवनमा गुठीको कार्यालय रहेछ । म यताउति हेर्दै, संकोची पाइला चाल्दै एउटा कोठामा पसेँ । त्यो कार्यालय सचिव वासुदेव लुइँटेलको कार्यकक्ष रहेछ । मैले वासुदेव लुइँटेललाई कौवा प्रकाशन, भूतको भिनाजु, हास्यव्यङ्ग्य साहित्य आदिबाट अलिअलि चिनिराखेको थिएँ ।
‘कहाँबाट पाल्नुभयो ?’ एउटा अतिशिष्ट भाषा र सोधाइ एक वरिष्ठ साहित्यकारबाट ।
‘हजुर, म पोखराबाट,’ मैले हात जोडेर आफूलाई चिनाएँ ।
‘ए, बस्नुहोस् ।’
मैले संकोच मानेर आफूलाई एउटा कुर्सीमा बसाएँ ।
‘पोखराका अली मियाँलाई चिन्नुहुन्छ ?’
‘चिन्छु हजुर, हामी एउटै संस्थामा छौं ।’
‘ल, ढुंगा खोज्दा देवता मिल्यो । उहाँको एउटा किताब प्रकाशित भएको छ, लगिदिनुहुन्छ ?’
‘सक्छु हजुर, मेरो सौभाग्य,’ मैले खुसीसाथ भने ।
वासुदेव लुइँटेलले कसैलाई किताब ल्याउन अह्राए । केही समयपछि एउटा पातलो डोरीले बाँधिएको अवस्थामा पचास–साठी थान ‘अली मियाँ’ नामक राखिएको किताब आइपुग्यो । आत्मकथात्मक किताब रहेछ । किताब पातलो भएकाले बोक्न गाह्रो परेन ।
संजोगले भोलिपल्टै मलाई पोखरा आउनु थियो, आएँ । अली मियाँलाई पूरै किताब टक्र्याएँ । उनी असाध्यै खुसी भए । त्यसबेला मलाई लाग्यो, जीवनमा असङ्ख्य दुःख भोगेका अली मियाँको एउटा मात्रै दुःख वर्णन गर्न पनि यो किताब पर्याप्त नहोला, तब आत्मकथा कसरी हुन सक्छ ? तर, पछि मलाई महसुस भयो, यो सानो पुस्तिकाकार किताब प्रकाशित गरिदिएर हास्यव्यङ्ग्य साहित्यका भीष्मपितामह वासुदेव लुइँटेलले अली मियाँलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका रहेछन् । आत्मकथालाई जति शब्दमा लेखे पनि अनात्मकथा हुँदैन ।
चालीसको दशक लागेपछि अली मियाँ धेरैका परिचित लोककवि भइसकेका थिए । दिन–परदिन उनको ख्याति चुलिँदै थियो । उनलाई पोखरा बाहिरबाट पनि सम्मानित/पुरस्कृत गर्न थालिसकिएको थियो ।
विक्रमाब्द २०५८ मा अली मियाँ चौरासी वर्षमा पदार्पण गरे । पोयुसांपको बैठक बसी लोककविको रथारोहणसहित भव्यतापूर्वक सार्वजनिक अभिनन्दन गर्ने निर्णय गर्‍यौं । लोककवि मुसलमान धर्मका अनुयायी भएको र चौरासी पूजा गर्ने संस्कार हिन्दु भए पनि उनलाई चिनेका हामीले अन्यथा सोचिएला भनी सोचेनौं । हाम्रो विश्वासअनुरूप अली मियाँ र उनको परिवारजनले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार गरे ।
पोयुसांपको अध्यक्ष आनन्द श्रेष्ठको नेतृत्वमा अन्य सङ्घसंस्थाको सहभागिता हुनेगरी एक कार्य सम्पादन समिति गठन भयो ।
२०५८, फागुन १५ गते अली मियाँको चौरासीऔं वर्ष प्रवेशको उपलक्ष्यमा पोखराको मुख्य बजार क्षेत्र गेह्रापाटन, महेन्द्रपुलबाट विशाल जनसहभागितामा शोभा–यात्रासहितको रथारोहण सम्पन्न भयो । उनलाई प्राचीन–रथको आभास हुने गरी सिँगारिएको एउटा खुला गाडीमा विराजमान गराइएको थियो । उनी अबीर र फूलका मालाहरूले शोभायमान भई बाटोमा, टोलटोलमा श्रद्धापूर्वक अभिवादन चढाउनेलाई विनयपूर्वक हात जोडिरहेका थिए । शोभायात्रा–रथारोहण महेन्द्रपुलबाट रानीपौवा, माटेपानी, कुँडहर हुँदै मियाँपाटनमा पुगेपछि एउटा चउरमा अभिनन्दनसभामा परिणत भयो । स्वागत मन्तव्यमा मैले अली मियाँको सम्मानमा ‘अली मियाँ लोक वाङ्मय प्रतिष्ठान गठन गरिने’ घोषणा गरेँ । उनको रथारोहणसम्बन्धी प्रस्ताव लिएर जाने क्रममै हामीले रथारोहणपछि प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्ने सूचना दिएका थियौं । अली मियाँ र उनको परिवारजन यो सूचनाबाट प्रसन्न थिए । अभिनन्दन समारोहमा सबै वाङ्मयिक संस्था र अन्यले लोककविलाई अभिनन्दन–पत्र चढाए । सैयौ मानिसले फूलमाला, खादा र अबीरले अभिनन्दन गरे । उनको आशीर्वचन र केही विशिष्ट व्यक्तिका मन्तव्यसहित यो वाङ्मयिक संघटना अविस्मरणीय इतिहासमा परिणत भयो ।
केही दिन थकाइ मारेर बिते । एक बिहान पोयुसांपका तर्फबाट कवि तीर्थ श्रेष्ठ र म ‘अली मियाँ लोकवाङ्मय प्रतिष्ठान’ गठन गर्ने सम्बन्धमा कुरा गर्न अली मियाँ निवास पुग्यौं । निवासमा हनिफ मियाँका साथ एक–दुई अन्य व्यक्ति उपस्थित थिए । हामीले कुरा निकाल्यौं । अन्य व्यक्तिले
अनपेक्षित रूपले विवाद निकाले । हामीलाई आश्चर्य र दुःख लाग्यो । विवादबीच अली मियाँले मलाई छतमा बोलाए ।
‘नमस्कार हजुर !’ अभिवादन गरेँ ।
‘आउनुहोस् बाबु, नजिक बस्नुस्,’ बसेर
घाम तापिरहेका उनले मसिनु स्वरमा भने । म नजिकै बसेँ ।
‘के भयो लोककविज्यू, यहाँ त अर्कै तमासा रहेछ । हामी पहिले हजुरसित कुरा भएअनुसार प्रतिष्ठान गठन गर्नेबारे सल्लाह गर्न आएका थियौं,’ मैले आवेग नपोखी भनेँ ।
‘बाबुलाई थाहा छ मेरो घर, मेरो मनको चौतारी कुन हो भनेर । म कहिल्यै बिर्सन सक्दिनँ । तर, अहिले म ठूलो दबाबमा परेको छु !’ उनले मेरो हात समाते अनि बरबर्ती आँसु झारे ।
‘लोककविज्यू, दुःख नमान्नुहोस् । हामीले हजुरको सम्मान मात्र गर्न चाहेका हौं । हजुरको नाममा विवाद गरिबस्नु राम्रो होइन । हामी दृश्यबाट हटिदिन्छौं । हामीलाई पहिले नै सूचना दिइएको भए विवाद हुन्थेन,’ मैले यत्ति भनेँ । तीर्थ र म अनावश्यक विवादमा धकेलिनुपर्दा तीतो महसुस गर्दै अली मियाँ–निवासबाट फर्कियौं । केही दिनपछि हनिफ मियाँको अध्यक्षतामा संस्था गठन भएको खबर पायौं । हामीले नजाती मानेनौं ।
अली मियाँको नाममा संस्था गठन भएपछि उनी जुन समारोहमा भेटिन्थे, क्षमाप्रार्थी भावले कुरा गर्न थाल्थे । हामी उनलाई सम्झाइबुझाइ गर्थ्यौं । अली मियाँपुत्र हनिफले कार्यक्रम पर्दा हामीलाई बोलाइरहन्थे । सुरुसुरुमा हामी असजिलो मानी गएनौं, तर पछिपछि अली मियाँप्रति सम्मान दर्साउन र अरूप्रति सद्भाव व्यक्त गर्न कार्यक्रममा जान थाल्यौं । बीचमा विवाद मच्चाउन चाहनेहरू आफैं पाखा लागे ।

चरित्र–दर्शन विम्ब
अली मियाँले आफ्नो जीवनकालमा कति गीत गाए, कति गीत–कविता रचे समयले अनुसन्धान गर्दै जानेछ । उनी लोकलय टिपेर सिर्जना गर्ने स्वभावका भएकाले उनका कति सिर्जना आफ्ना हुन्– होइनन्, सायद आफैं पनि भन्न सक्दैनथे । उनको सिर्जनाधर्मिता लोकसमर्पित थियो । उनले जीवनका दुःखहरूको गीत रचे, गरिबी–अभावहरूको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, बिदेसिनुपर्ने बाध्यताको गीत रचे, राष्ट्रियताको गीत रचे, शोषित–पीडित जनताका गीत रचे, क्रान्तिका गीत रचे, जातीय विभेदविरुद्धका गीत रचे, राजाहरूका गीत रचे, भगवान्हरूका गीत रचे, शान्ति र मानवताका गीत रचे । उनले समयको आवश्यकतामा गीतहरू रच्दै गए । उनका गीतहरू कविता थिए, कविताहरू गीत थिए । उनको यो सिर्जनात्मक लोककवित्व समालोचनाहरूले मूल्याङ्कन गर्दै जालान् । लोककविहरू/जनकविहरूको उर्वर भूमिमा उनीभन्दा बढ्ता सिर्जनशीलता र श्रेष्ठता भएका लोककविहरू/जनकविहरू पहिले पनि जन्मेका थिए, पछि पनि जन्मेलान् । तर, उनी आफ्नो चरित्रले सबैभन्दा अलग र अद्वितीय थिए । एक गरीब मुसलमान परिवारमा जन्मेको व्यक्ति नेपाली लोकजीवनका भाखाहरूलाई टिपेर लोकसाहित्यलाई धनी बनाउने कर्ममा आजीवन समर्पित हुनु, साथमा राम र रहिमलाई सधैं एक ठाउँमा राखेर सर्वधर्म समभावको जीवन बाँच्नु उनको अप्रतिम चारित्रिक वैशिष्ट्य थियो । सर्वधर्म समभाव उनको विचारमा मात्रै थिएन, जीवन बाँच्ने कलामै थियो । विश्वशान्तिका लागि उनले धार्मिक समन्वयको बाटो रोजेका थिए । उनी धार्मिक आतङ्क र विश्व आतङ्कवादले हुर्हुर्ती जलिरहेको विश्वका लागि एक सन्देश थिए । त्यही भएर मैले पत्रकार अमृत भादगाउँलेद्वारा लिखित उनको जीवनीमूलक पुस्तकमा ‘बुझ्न सके उनी अन्तर्राष्ट्रिय स्तरका व्यक्ति हुन्’ भनेको थिएँ । तर, मेरो उक्त भनाइलाई बुझ्न सक्नुपर्नेहरूले बुझेनन्, अति प्रशंसा ठहर्‍याए ।
आखिर अन्तर्राष्ट्रिय स्तरका व्यक्ति भनेका को हुन् ? के जिजस, बुद्ध, मोहम्मद, कृष्ण हुन् ? तिनलाई पनि बुझ्नेहरूले बुझेर प्रचार नगरिदिएका भए कसरी यो स्तरका पूजनीय देवता हुन्थे ? हामी त्यस विश्वमा छौं, जहाँ पाकिस्तानकी एक शिक्षाप्रेमी बालिकालाई आतङ्ककारीहरूले गोली प्रहार गर्दा उनी अन्तर्राष्ट्रिय स्तरकी मानिइन् । उनको सङ्घर्षलाई मेरो पनि सलाम छ । ‘बुद्ध नेपालमा जन्मेका होइनन्’ भन्ने बौद्ध भिक्षु अन्तर्राष्ट्रिय स्तरका मानिन्छन् । विश्वमा ठूल्ठूला हिंसा गर्ने र आतङ्क मच्चाउने आतङ्ककारीहरू अन्तर्राष्ट्रिय स्तरका मानिन्छन् । तब आफ्नो सम्पूर्ण जीवन धार्मिक समन्वयमा बाँचेर कलमले मात्र होइन, जीवनले सन्देश दिने एक लोककवि किन अन्तर्राष्ट्रिय स्तरका मानिन सक्दैनन् ?
लाग्छ, हाम्रो तन–मनमा बादल लागेको छ । बादल यति बाक्लो छ कि त्यसले घामलाई पनि छेकेको छ, जूनलाई पनि छेकेको छ, ताराहरूलाई पनि छेकेको छ । अनि स्वच्छ आकाशको नीलाम्यता र प्रशान्तिलाई पनि छेकेको छ । लोककवि अली मियाँ यो विषमतापूर्ण अवस्थादेखि परिचित थिए, त्यसैले कसैबाट राष्ट्रियता र अन्तर्राष्ट्रियताको मान–पदवीको आशा नराखी निरन्तर सुमधुर ध्वनिमा गीत गाइरहन्थे ः

आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ...
मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ
छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटाऊँ भने फेवाताल सुक्छ
आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ !

 

Page 10
कोसेली

हुमानसिं भुजेलको भैंसी–प्रेम

- श्रवण मुकारूङ


घटना २०७८ असार–१ गतेको हो
मेलम्चीको बाढीले हेलम्बूको गोर्नागेसँगै
हुमानसिं भुजेलको भैंसी बगायो ।
बाइस किलोमिटर तल
देवदूतजस्तो कुनै युवाले
भैंसीको उद्धार गर्‍यो ।
संसारै लगेको बाढीले लगेको भैंसी
अचानक भेटियो भन्ने थाहा पाउनासाथ
हुमानसिं हामफाल्दै भैंसी भेट्न पुगे ।
हुमानसिंलाई देख्नासाथ भैंसी बर्बरी रोयो
आफ्नो प्राणप्यारी भैंसीको यस्तो हाल देखेर
हुमानसिंको कण्ठ अवरूद्ध भयो ।
मृत्युको मुखबाट भैंसी थुतेर ल्याउने त्यो देवदूतलाई
हुमानसिंले करूणामयी धन्यवाद दिए
त्यो देवदूतजस्तो युवाले सूर्यजस्तो उज्यालो मुस्कान फर्कायो ।
तब हुमानसिंलाई पछ्याउँदै भैंसी हेलम्बू फर्कियो
हुमानसिं र भैंसी
बाढीले बगाउन बाँकी आफ्ना साविक थातथलोमा बस्न थाले ।

माथि उल्लिखित घटना
कथा भइनसक्दै
गाउँमा एक दिन
हुमानसिं र भैंसीबीच यस्तो संवाद भएको खबर फैलियो ः
हुमानसिंले दिएको मकैको खोले चाटचुट पारेर उग्राउँदै
भैंसीले भनी रे–
हुमानसिं Û
यहाँ बाढी आउनु अघिल्लै दिन
माथि हिमालबाट हुर्रिंदै एउटा काग
ऊ त्यो चिलाउनेको रुखमा बिसाएको थियो
अत्तालिँदै
उतिबेलै त्यो कागले भनेको थियो–
बाढी आउँदै छ, भाग् भैंसी भाग् Û
त्यही साँझ
ऊ त्यो उन्यु, सालिम्मो र वनमारा हल्लाउँदै गएको सर्पले
भनेको थियो– बाढी आउँदै छ, भाग् भैंसी भाग् Û
त्यसपछि,
भ्यागुता, छेपारो, किथ्रा, जुरेली, ढुकुर, फिस्टा
सबै–सबैले नारा लाएका थिए– बाढी आउँदै छ Û बाढी आउँदै छ ÛÛ
तब मैले
आकाशमा मडारिइरहेको बादललाई सोधेको थिएँ–
के साँच्चै बाढी आउँदै छ... ?
उसले निस्फिक्री भनेको थियो–
हो, पृथ्वीमा मनपरि गर्नेहरुविरूद्ध हामी एकजुट हुँदै छौं
बाढी अवश्य आउनेछ Û

हुमानसिं Û त्यसपछि मैले तिमीलाई रातरातभर कत्ति पुकारेँ हुँला ?
के तिमी,
मृत्युबोधअघिको अन्तिम अनुनयको कल्पना गर्न सक्छौ... ?
जब बिहान घाँस दिन आयौ
मैले दाम्ला चुडाउँलाझैं गरी बेलिविस्तार लाएँ
तर, तिमीले मेरो पशु–बाक्के बुझेनौ
बार्दलीबाट आँगनको मगन्तेलाई भिख फ्याँकेझैं
पराल फ्याँकेर गइहाल्यौ ।

त्यही बेला मलाई महसुस भयो–
कि, हामी दुईको प्रेमबीच खास दूरी छ
हो, पशु र मानिसको प्रेमबीच दूरी छ ।
म तिम्रो भाषा बुझ्छु
र त युगौंदेखि,
म तिमीसित छु
तिमी मेरो भाषा बुझ्दैनौ
त्यसैले त तिमी मलाई यसरी अछुतसरह
गोठ, खेत, बारी, बगरमा छाड्छौ ।

जब मलाई त्यो दिन बाढीले बगायो
हजार मृत्युसित जुध्दै, तर म बाँचें
किनभने मेरो पेटमा बच्चा थियो ।
अफसोस Û
मैले तिमीलाई
तिम्रो हातमा मेरो जीवित बच्चा थमाउन सकिनँ ।
तर हुमानसिं Û म भैंसी हुँ, मलाई विश्वास गर Û
तिम्रो दुःखमोचनका लागि म तिमीलाई
मेरा सारा सन्तानहरुको बलिदान दिन तयार छु ।
किनभने–
म तिमीलाई
पशु–प्रेम गर्छु ।
म मानिसलाई प्रेम गर्ने पशु हुँ
त्यसैले म तिमीसमक्ष
आफैंलाई भोग दिन तयार छु ।

...अहो Û
एउटा विस्मयकारी मौनतापछि
चिच्याए हुमानसिं भुजेल–
ए मेरी काली भैंसी... Û
म तेरो जीवनभित्र आफ्नो जीवन घिसार्दै
यहाँसम्म आइपुगेको बूढो हुमाने हुँ Û
तँ मेरी प्रिया होस्, तर आमा समानकी
यो जुनीमा अब मलाई
तेरो प्रेमसिबाय अरु केही स्वीकार्य छैन ।
अब म मेरो जीवनलाई महायात्रा बनाउन चाहन्छु
तँ त बगिस् मात्रै बाइस किलोमिटर
म अनन्त बग्न चाहन्छु तेरो प्रेमको बाढीमा
त्यसैले त–
जीवनभर सोहोर्न तयार भएको छु तेरो गोबर
सुँघ्दै गन्ध प्रेमले यी औंलाहरुमा ।

कोसेली

नेपाली संघीयता, उमेर : २६०० वर्ष

- भोगीराज चाम्लिङ

कथरी बुद्धिजीवी, पार्टी र नेताहरूलाई अझै लाग्छ– संघीयता आयातित सवाल हो । यो मत अहिले मुखर हुन खोज्दै छ । पछिल्लो अभिव्यक्ति हो ‘संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रह’ गर्ने रवीन्द्र मिश्रको प्रस्ताव ! खास कुरा के भने पृथ्वीनारायण शाहपछि मात्रै नेपाली मौलिकतायुक्त संघीय अभ्यास टुटेको हो । बहुदलीय व्यवस्थाजस्तै संघीयता पनि अहिले पुनःस्थापित भएको हो । लोकतन्त्र पुनःस्थापित हुन ३० वर्ष लाग्यो, संघीयता पुनःस्थापित हुन त्यस्तै दुई सय पचास वर्ष ।
नेपालमा संघीयताको कुरा गर्दा हामी वृज्जि संघको इतिहाससम्म पुग्नैपर्छ । निश्चय नै तत्कालीन अवस्थामा त्यो भूभाग नेपाल राज्यभित्र पर्दैनथ्यो । तर, वृज्जि संघका विदेह (मिथिला) र कोसलजस्ता गणराज्यका केही भूभाग र केन्द्र (राजधानी) अहिले नेपालभित्रै पर्ने भएकाले हाम्रो संघीयताको इतिहास त्यहीँबाट सुरु हुन्छ । त्यस हिसाबले नेपालमा संघीयता लगभग २६०० वर्ष पुरानो देखिन्छ ।
त्यसबखत वृज्जि संघअन्तर्गत ८ गणराज्य संगठित थिए । ती कुन–कुन थिए भन्नेबारे मतैक्यता नभए पनि विदेह, कोसल र लिच्छवि गणराज्य त्यसअन्तर्गत पर्थ्यो भन्ने विषयमा खास विवाद छैन । वृज्जि संघ भनेको चाहिँ कन्फेडेरेसन (महासंघ) थियो । गणराज्यहरू वृज्जि संघमा रहिरहन पनि सक्थे, अलग हुन पनि । राजतन्त्रीय अधिराज्यहरूको वर्चस्व रोक्नका लागि वृज्जि संघ एउटा अचुक राजनीतिक अभ्यास थियो । त्यही भएकाले कौटिल्यले ‘अर्थशास्त्र’ मा भनेका हुन्– ‘संघराज्यलाई जित्न उनीहरूलाई फुटाइदिनुपर्छ ।’ नभन्दै वृज्जि संघ रहेसम्म राजतन्त्रीय अधिराज्यहरूको वर्चस्व असम्भव भएकाले यसको विघटन राजतन्त्रीय राजा अजात–शत्रुको हमलाबाट भयो । त्यसैले संघीयता र राजतन्त्र परस्पर विरोधी व्यवस्था हुन् उहिल्यैदेखि । जबजब राजतन्त्र बलियो हुन्छ, त्यसले संघीयता मासिछाड्छ ।
त्यसो भए नेपालमा राजतन्त्रकाल (लिच्छवि–मल्ल–सेन) मा कसरी संघीयता लागू भयो त ? तीन अवस्थामा भयो– एक, नेपाली समाजमा परापूर्वकालदेखि अभ्यास हुँदै आएको स्वायत्तता । दुई, लिच्छविहरूले वृज्जि संघमा छँदाकै बखत संघीयता अभ्यास गरेर त्यसको गुण र सामर्थ्य थाहा पाएकाले नेपालमा पुनः प्रयोग गरे । तीन, लिच्छविहरूले जनताको असन्तुष्टि सम्बोधन गर्ने बाध्यात्मक उपायका रूपमा पनि स्वायत्तता प्रदान गरे । चार, चाहना नै भए पनि लिच्छविहरूको विरासतमा प्राप्त स्वायत्त प्रदेशहरूलाई केन्द्रको प्रत्यक्ष शासनअन्तर्गत ल्याउने सामर्थ्य मध्यकालीन केन्द्रीय सत्तामा थिएन ।
ल ल ल
किरातकालीन नेपालमा संघीयता थियो कि थिएन ? यसै भन्न सकिन्न । नेपालको सिमानाचाहिँ लगभग अहिलेकै बराबर थियो ।
किरातकालमा वृज्जि संघका विदेह (मिथिला) तथा कोसलसँग, त्यस्तै शाक्य गणराज्यसँग नेपालको सिमाना जोडिएको थियो ।
संस्कृतग्रन्थ ‘अथर्व परिशिष्ट’ मा ६ ‘महादेश’ हरूको नाम यसरी दिइएको छ– नेपाल, कामरूप (आसाम), विदेह (मिथिला), उदुम्बर, अवन्ती (उज्जैन) र केकय । इसापूर्व चौथो शताब्दीताकाको मानिने कौटिल्यको ‘अर्थशास्त्र’ मा पनि राम्रा ऊन र ऊनका कपडा पाइने तथा भारतसँग व्यापार हुने मुलुकका रूपमा नेपालको उल्लेख छ । यसले किरातकालमै नेपालको स्वतन्त्र अस्तित्व थियो भन्ने बुझ्न सकिन्छ । अझ इतिहासकार ज्ञानमणि नेपाल (नेपालनिरुक्त, २०४०) त बुद्धभन्दा अगाडि नै नेपालको सिमाना अहिलेकै हाराहारी थियो भन्ने मान्यता राख्छन् । अर्थात्, किरातकालमै नेपालको सिमाना हालको बराबर थियो ।
लिच्छविकालमा नेपाल लगभग अहिलेकै बराबर थियो भन्ने थुप्रै प्रामाणिक स्रोतहरू उपलब्ध छन् । जस्तो कि मानदेवको चर्चित चाँगुनारायण अभिलेख (विसं ५२१) बाट नेपालको सिमाना कम्तीमा पूर्वमा कोसीप्रश्रवणक्षेत्र र पश्चिममा गण्डकीप्रश्रवणक्षेत्रसम्म फैलिएको थियो (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३०) भन्ने थाहा हुन्छ । अझ समुद्रगुप्तको प्रयाग स्तम्भलेखबाट प्रस्टै थाहा हुन्छ– कुमाउँदेखि पूर्वपट्टि, आसामदेखि पश्चिमपट्टिको भाग नेपाल हो । त्यो भनेको हालकै नेपालबराबर हो ।
सातौं शताब्दीका चिनियाँ यात्री ह्वेन साङको यात्रावर्णनमा पनि नेपालको घेरा ४०० ली र राजधानीको घेरा २० ली रहेको उल्लेख छ (बुद्धिस्थ रिकर्ड्स् अफ् द वेस्टर्न वर्ल्ड, सन् १८८४) । त्यो भनेको पनि लगभग अहिलेकै नेपालबराबर क्षेत्रफल हो ।
त्यस्तै पूर्वमा दोलखा, मूलकोटसम्म र पश्चिममा गोरखासम्म लिच्छवि अभिलेख पाइएका छन् । पश्चिम बागलुङमा मानाङ्क मुद्रा नै फेला परेको छ । जुम्ला लामाथाडा गुफामा पछिल्लो चरणको लिच्छविलिपि कुँदिएको माटाको चैत्य भेटिएको छ (लिच्छविकालका अभिलेख, २०३०) । यसले लिच्छविकालमा कर्णाली क्षेत्र नेपालकै भू–भागभित्र पर्थ्यो भन्ने देखिन्छ । नेपालको यो विस्तृत भूगोल निर्माणमा मूलतः किरातहरूको योगदान थियो भन्ने विषयमा कुनै शंका छैन । लिच्छवि शासन सर्लक्कै त्यही जगमा खडा भएको हो ।
त्यसबखतको असुविधालाई ध्यानमा राखेर विचार गर्ने हो भने विकट भूगोललाई पक्कै पनि किरातहरूले केन्द्र
(काठमाडौं) बाटै नियन्त्रण र सञ्चालन गरेका थिए भनेर अनुमान गर्न गाह्रै पर्छ । बरु किरातहरूलाई केन्द्रीय नेतृत्व स्वीकार गर्दै उपत्यकाबाहिरका गणराज्यीय प्रदेशहरूले केन्द्रसँग लचिलो सम्बन्ध कायम गरेको हुनुपर्छ । कसरी त्यसो भन्न सकिन्छ भने नेपालबाट चिराइतो, ऊनी र ऊनीका कपडाहरू भारततिर बिक्री हुन्थ्यो । ती सम्भवतः काठमाडौं उपत्यकाभन्दा बाहिरबाट आउँथे । अहिले पनि चिराइतो पूर्वी पहाडमा किरातहरूको बस्तीमा उत्पादन हुन्छ । अहिले पनि ऊनी र भेडापालनमा पश्चिम नेपालका मगर–गुरुङहरू बढी संलग्न छन् । केन्द्रसँग कुनै न कुनै राजनीतिक–प्रशासनिक सम्बन्ध नभईकन ती वस्तुहरू काठमाडौं प्रवेशमा अप्ठेरो पर्नुपर्ने हो । भारततिर बिक्री गर्ने कुरा त परकै भइहाल्यो । त्यसैले पक्कै पनि किरातकालमा केन्द्र र बाहिरका गणराज्यबीच कुनै लचिलो सम्बन्ध अवश्य थियो । त्यही सम्बन्धलाई लिच्छविकालमा अझ कसिलो बनाइयो–संघात्मक प्रकृतिको !
ल ल ल
संघीयताको मुटु अथवा मुटुको धड्कन, जे भने पनि स्वायत्तता हो । त्यसरी हेर्दा लिच्छविकालमा केन्द्रबाट सीधै शासन गरिने र काठमाडौं उपत्यकाभन्दा बाहिर सामन्तद्वारा स्वशासित प्रदेश थिए । उपत्यकाभित्र चाहिँ स्थानीय स्वायत्ततासहितको पाञ्चाली हुन्थ्यो । यसरी केन्द्र, प्रदेश र स्थानीय तहको संरचना थियो लिच्छविकालमा ।
जस्तो कि पिता धर्मदेवको निधनपछि नाबालक मानदेव राजा हुँदा केन्द्र कमजोर भयो भन्ने ठानेर पूर्व र पश्चिमका प्रदेशका सामन्तहरूले स्वतन्त्र हुने चेष्टा गरे । पूर्वका ती सामन्तहरू शठ अर्थात् किरात थिए । किरातहरू प्राचीनकालदेखि कोसीप्रश्रवण क्षेत्रमा फैलिएका थिए । पश्चिम नेपालका सामन्तहरूचाहिँ गण्डकीपारि मल्लपुरीका थिए । यी सामन्तहरूलाई मानदेवले आक्रमण गरेर केन्द्रकै अधीनस्थ सामन्तका रूपमा कज्याए (लिच्छविकालका अभिलेख, २०३०) । ती सामन्तहरू केन्द्रीय सत्तालाई शिरोपर गरेर प्रदेशमा स्वायत्त ढङ्गले शासन गर्थे, जो बेलाबेला स्वतन्त्र हैसियतको राज्य बन्न विद्रोह पनि गर्थे ।
स्थानीय तहका रूपमा लिच्छविकालमा प्रत्येक ग्राम (गाउँ) मा ‘पाञ्चाली’ नामक ‘पञ्चहरूको सभा’ खडा गरिएको थियो । लिच्छविकालका त्यस्ता केही पाञ्चालीहरू थिए– तेग्वल, यूग्वल, गीग्वल, जाज्जे, लोप्रिङ, माटिङग्राम, नरसिंह, जोल्प्रिङ ।
लिच्छवि राजा वसन्तदेवले जनतामा असन्तोष नफैलियोस् भनेर काठमाडौंको थानकोट र टिस्टुङ भेकमा स्वशासनसम्बन्धी अधिकार दिएका थिए । अंशुवर्माले यस्ता पाञ्चालीहरूलाई अझ शक्तिशाली बनाएर प्रशासनिक अधिकारसमेत दिए ।
पाञ्चालीको मुख्यतः दुईवटा काम हुन्थ्यो– एक,
आफ्नो इलाकाको झैंझगडा मिलाउने, मुद्दामामिला छिनी दण्ड गर्ने, स्थानीय प्रशासन चलाउने । दुई, पाञ्चालीभित्र कुलो–पानीको प्रबन्ध मिलाउने, पाटीपौवाको निर्माण र हेरचाह आदि सार्वजनिक हितका काम गर्ने । त्यस्तै मुद्दा छिन्दा उठेको रकमको ६ भागको १ भाग पाञ्चालीलाई दिइन्थ्यो । कुनै पाञ्चालीको अधीनमा साझा जग्गाजमिन पनि हुन्थ्यो ।
प्रशासनिक दृष्टिले लिच्छविकालीन बस्तीहरूमा ग्राम सबैभन्दा सानो एकाइ हो । त्योभन्दा माथि ‘तल’ हुन्थ्यो । त्योभन्दा माथि द्रङ्ग हुन्थ्यो । काठमाडौं उपत्यकाबाहिर पनि यस्ता ‘तल’ हरू थिए । कतिपय तलस्वामी (तलका प्रमुख) ले प्रशासनसम्बन्धी निकै अधिकार पाएका हुन्थे । जनताले आफूलाई परेको मर्का सुनाउन तलस्वामीकहाँ गए पुग्ने व्यवस्था गरिएको थियो । अंशुवर्माको पालामा त कुर्प्पासीग्राममा कुनै पनि सरकारी अधिकरण (अड्डा, अदालत) लाई प्रवेश रोक लगाइएको थियो ।
यी तथ्यहरूले लिच्छविकालमा केन्द्र मात्रै होइन, प्रदेश र स्थानीय तह पनि उत्तिकै अधिकारसम्पन्न थिए भन्ने देखिन्छ । इतिहासमा भएको संघीयता र स्वायत्तता अभ्यासको अब्बल नमुना हो यो ।
ल ल ल
लिच्छविकालीन विषय (प्रदेश) हरूले मध्यकालमा पनि निरन्तरता पाएको देखिन्छ । मध्यकालमा ‘विषय’ भन्नाले केन्द्रलाई मानेर प्रादेशिक स्तरमा सामन्तहरूले शासन गर्ने राजनीतिक–प्रशासनिक अभ्यास हो । अहिलेको सन्दर्भमा नेपालका सात प्रदेशभन्दा पनि बढी स्वायत्त थिए ती ‘विषय’ । किनभने, केन्द्र कमजोर हुँदा ती ‘विषय’ का सामन्तहरू स्वतन्त्र हुने प्रयास गर्थे ।
मध्यकालको प्रारम्भमा नेपाल टुक्राटुक्रा भएको थिएन, जतिबेला नेपालमण्डल नामले चिनिन्थ्यो । इतिहासकार धनवज्र वज्राचार्य (गोपालराजवंशावलीको ऐतिहासिक विवेचना, २०६६) का अनुसार, नेपालमण्डलभित्र काठमाडौं उपत्यका र बाहिरका प्रदेश (विषय) हरू पनि पर्थे । कर्णालीमा खस राज्य स्थापना नहुँदासम्म यी विषय (प्रदेश) हरू अस्तित्वमा थिए ।
ती विषय (प्रदेश) हरूमध्ये एक हो जिग्लोद्गम । यो गण्डकीप्रश्रवणक्षेत्र अथवा अझ पश्चिममा पर्थ्यो भन्ने अनुमान छ ।
अर्को हो गण्डीगुल्मविषय (१२औं शताब्दी) । यो विषय (प्रदेश) को सम्बन्ध भोटसँग पनि थियो । संस्कृतकरण हुनुपहिले गण्डकी नदीलाई गण्डी भनिने हुनाले यो प्रदेश गण्डकी नदीको नजिकमा थियो भन्ने देखिन्छ । धनवज्र वज्राचार्यकै जस्तो मत रहेको छ ज्ञानमणि नेपाल (नेपालनिरूपण, २०५५) को पनि ।
अर्को हो पन्नगविषय (१३औं शताब्दी) । पश्चिम नेपालका मगरहरूमा नागपूजा गर्ने प्रचलन छ र नाग शब्दको पर्यायवाची हो पन्नग । सेन राजाहरूले मगराँत भेगमा विजय गर्दा नागहरूलाई जितेको वर्णन गरेका छन् । त्यस्तै मंग्वरसँग पन्नगको सम्बन्ध देखिएकाले यो प्रदेश पनि पश्चिम नेपालमै पर्थ्यो र मगरहरूसँग सम्बन्धित थियो भन्ने देखिन्छ ।
अर्को हो मंग्वरविषय (१२औं शताब्दी) । ‘मंग्वर’ वर्तमान मगर शब्दको पूर्वरूप हो । यो प्रदेश पनि गण्डकीप्रश्रवणक्षेत्रमा नै पर्थ्यो । धनवज्र वज्राचार्यजस्तै ज्ञानमणि नेपाल (नेपालनिरूपण, २०५५) को मतमा पनि मंग्वरविषय भनेको हालको मगराँत हो ।
अर्को हो पञ्चावतविषय (१३औं शताब्दी) । यस प्रदेशका प्रमुख थिए श्रीधरसिंह (राना) मगर । भनेपछि यो पनि पश्चिम नेपालकै प्रदेश हो ।
अर्को हो उदयपुरविषय (१२औं शताब्दी) । हालसम्म थाहा भएअनुसार, यो पूर्वी नेपालमा पर्ने उदयपुर नै हो ।
फनपिङ विषय (१४औं शताब्दी) अर्थात् फर्पिङचाहिँ केन्द्र (काठमाडौं) को सबैभन्दा नजिकको प्रदेश हो । उपत्यकाको मल्ल राज्य तीन टुक्रा भएपछि ललितपुर राज्यअर्न्तगतको एक देश बनेको थियो फर्पिङ (धनवज्र वज्राचार्य, मध्यकालका अभिलेख, २०५६) । यी तथ्य हेर्दा कम्तीमा १४औं शताब्दीको प्रारम्भसम्म नेपालमा केन्द्र र स्वायत्त प्रदेश प्रणालीको अभ्यास कायमै थियो ।
उल्लिखितबाहेक मध्यकालमा वनियध्यविषय (पूर्वी नेपाल), खलंपिंविषय लगायत प्रदेश पनि थिए । यस्ता प्रदेशबारे थप अध्ययन गर्ने हो भने मध्यकालीन नेपालमा प्रचलित स्वायत्त प्रदेशमा आधारित संघीय राज्यप्रणालीबारे धेरै कुरा थाहा हुने छ ।
पूर्व किरात प्रदेशमा त १९औं शताब्दीसम्म स्थानीय स्वायत्तताको अभ्यास कायम थियो । पश्चिम नेपालका सेनहरूले १६औं शताब्दीमा मोरङ राज्य, समग्र किरात प्रदेश र तराई विजय गरेपछि समयक्रममा पूर्वी नेपालमा ससाना तीन राज्य खडा भए– पल्लो किरात (लिम्बुवान), जुन विजयपुर राज्यअन्तर्गत पर्थ्यो, माझकिरात (खम्बुवान), जुन चौदण्डी राज्यअन्तर्गत पर्थ्यो र ओल्लो किरातचाहिँ मकवानपुर राज्यमा पर्थ्यो । सेनराजाहरू भावर र तराईका तलहट्टीमा बसेर शासन गर्थे भने पहाडका लागि किरातीहरूलाई नै दिवान तथा चौतरिया नियुक्त गर्थे । दिवान र चौतरियाअन्तर्गत पहाडमा दर्जनौं गढीहरूमा किरातीहरूले स्वायत्त रूपमा शासन गर्थे । ती गढीहरूका अवशेष अझै मेटिएका छैनन् । यो स्थानीय स्वायत्तताको पछिल्लो उदाहरण हो । पृथ्वीनारायण शाहपछि पनि यसप्रकारको स्थानीय स्वायत्ततालाई किपट प्रथाका रूपमा निरन्तरता दिन केन्द्र सरकार बाध्य भएको थियो ।
यद्यपि पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारपछि शक्तिशाली केन्द्रीय राज्यले प्रादेशिक र स्थानीय स्वशासनहरू सम्पूर्णतः नामेट गरिदियो । र, एकात्मक केन्द्रीयता हावी भयो । त्यसैले, नेपाली समाज सुहाउँदो इतिहासमा सबैभन्दा बढी, सबैभन्दा लामो समयसम्म अभ्यास गरिएको स्वायत्ततामा आधारित संघीयता पुनःस्थापित हुनु अनिवार्य थियो । भयो । यो कायम रहनु झन् अनिवार्य छ ।