You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 3
मुख्य पृष्ठ

खुला आकाशमुनि झाडापखालाका बिरामी

- मनोज पौडेल

(कपिलवस्तु) - कृष्णनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म दुई सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् । झाडापखालाका कारण कृष्णनगर–९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर–८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भएको मेसु डा. मुकेश चौधरीले बताए । कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो । कृष्णनगर–७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका बासिन्दा बिरामी परेका हुन् ।
बहादुरगन्जस्थित शिवराज अस्पतालमा मंगलबार दिउँसोसम्म ८५ जनाको उपचार भइरहेको थियो । साँझ एकैपटक ३५ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । अस्पताल भरिएपछि कतिपयले गाउँका निजी क्लिनिकमा उपचार गराइरहेका छन् । सामान्य समस्या भएका घरमै उपचाररत छन् । साँझसम्म सिकिस्त भएका २३ जनालाई थप उपचारका लागि बुटवल र भैरहवा रेफर गरिएको छ । ‘१५ बेडको अस्पतालमा साधनस्रोत कम छ,’ अस्पतालका निमित्त मेसु डा. चौधरीले भने, ‘त्यही भएर बढी थलिएका बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरेका छौं ।’ राति एकाएक बिरामी बढेपछि आफूहरू आत्तिए पनि अहिले स्थिति केही सहज हुँदै गएको डा. चौधरीले बताए । ‘सुरुमा सोमबार साँझ ५/६ बजेतिर ५/७ जना बिरामी आएका थिए । सामान्य रूपमा लिएर उपचार गर्‍यौं,’ डा. चौधरीले भने, ‘राति ११ बजेपछि बढ्दै गए, बिहानसम्म अस्पतालमा एक सयभन्दा बढी बिरामी आए ।’
अस्पतालमा बिरामीको चाप नघटेपछि बेड भाडामा ल्याएर भवनबाहिर टेन्ट हालेर उपचार भइरहेको छ । ड्रेसिङ रुम, इमर्जेन्सी र ग्यालरीलगायत ठाउँमा समेत बेड राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालमा ठाउँ नपुगेपछि बहादुरगन्जका ८/१० वटा निजी क्लिनिकमा पनि झन्डै एक सय जनाले उपचार गराइरहेको स्थानीय सञ्चारकर्मी मनीषमंगल गुप्ताले बताए । ‘सिकिस्त नभएकाहरू घरमै प्राथमिक
उपचार गरेर बसेका छन्,’ उनले भने, ‘अलि सिकिस्त भएका मात्र अस्पताल आएका हुन् । घरमै उपचार गराइरहेका पनि ६० जनाभन्दा बढी छन् ।’

अस्पतालमा बेड अभाव हुँदा एउटैमा दुई जना बस्नुपरेको बिरामी शेषकुमार चौधरीले बताए ।
‘ठाउँ नभएर कोचाकोच र अप्ठ्यारोमा उपचार गराउनुपरेको छ । यसले बिरामीलाई गाह्रो भइरहेको छ,’ उनले भने ।
बिरामीलाई बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । ल्याब परीक्षण नभएसम्म यकिन भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । स्वास्थ्य कार्यालयले फरक–फरक ठाउँका ५ जना बिरामीको दिसा परीक्षणका लागि तौलिहवा अस्पताल पठाएको छ । त्यसको रिपोर्ट आएपछि मात्र धेरै कुरा थाहा हुने कार्यालय प्रमुख पाण्डेले बताए । अहिले घण्टामा ८/१० जना बिरामी आइरहे पनि स्थिति नियन्त्रणमै रहेको उनको भनाइ छ ।
मंगलबार दिउँसो जिल्लाबाट थप स्वास्थ्यकर्मी आएपछि उपचारका लागि केही सहज भएको डा. चौधरीले बताए । शिवराज अस्पतालमा एकमात्र चिकित्सक भएकाले मंगलबार तौलिहवाबाट दुई चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेका थिए ।
कृष्णनगरकै विभिन्न स्वास्थ्यचौकीबाट पनि स्वास्थ्यकर्मी झिकाइएको छ । तौलिहवाको टोली फर्किएको र प्रदेशबाट दुई जना चिकित्सक
आउने कुरा भइरहेको डा. चौधरीले बताए । पिउने पानीका कारण प्रकोप फैलिएको आंशका लागेकाले परीक्षणका लागि पठाइएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । ‘सुरुमा सुखरामपुरबाट समस्या आयो,’ उनले
भने, ‘त्यहींको पानी परीक्षण गर्न पठाएका छौं ।
रिपोर्ट आएपछि धेरै कुरा थाहा हुन्छ ।’ उनका
अनुसार नगरपालिकाले औषधि र स्वास्थ्यकर्मीको टोली पनि पठाएको छ ।

 

मुख्य पृष्ठ

किन लत्रिए दाहाल ?

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सत्ता गठबन्धनका प्रमुख ‘सूत्रधार’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारदेखि सरकार सञ्चालनमा असान्दर्भिकजस्ता देखिन्छन् । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन त उनले सार्थक पहल गर्न सकेका छैनन् नै, सरकार गठन भएको ८४ दिनसम्म आफ्नै दलका मन्त्री छान्न पनि उनलाई महाभारत भएको छ ।
हुन त पार्टीका आन्तरिक बैठकमा मन्त्रिपरिषद् ढिलाइले जनतामाझ गलत सन्देश गएको बताउने गरेका छन् । सार्वजनिक रूपमा भने ‘यसै साता’, ‘दुई–तीन दिनमा’, ‘पर्सिसम्म’, ‘छिट्टै’ सरकारले पूर्णता पाउँछ भन्दै म्याद सार्दै आएका छन् । पार्टीभित्र प्राधिकार मानिने उनले न त्यो हैसियत प्रयोग गरेर मन्त्री छान्न सकेका छन् न पारदर्शी र लोकतान्त्रिक विधि बनाएका छन् । बरु पार्टीका सबै सांसदले मन्त्री पद खोज्दा आफूलाई अप्ठ्यारो परेको भन्दै सार्वजनिक गुनासो गर्दै आएका छन् ।
मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्राधिकार भए पनि गठबन्धनको महत्त्वपूर्ण हिस्सेदार दाहाल पनि हुन् । देउवाको नेतृत्वमा सरकार बनाउन माइतीघर मण्डलको सडकमा पलेंटी कस्नेदेखि सर्वोच्च अदालतको ढोका ढकढक्याउनेसम्ममा उनी सक्रिय थिए । तर देउवाको ‘सुस्त’ शैलीमा दाहाल पनि मौन सहयात्री बनेका छन् । जबकि केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा विरोधी खेमाको नेतृत्व स्वयं दाहालले गरेका थिए । ‘ठूलो दुःखले ओलीलाई बालुवाटारबाट बालकोट पठाए पनि’ देउवासँगको सहकार्य कुनै पनि बेला तलमाथि हुने भयले दाहाल दबाबमा रहेको माओवादीकै एक नेता बताउँछन् । ‘देउवामाथि दबाब बढाउँदा गठबन्धन भत्कन सक्ने डर छ, यो गठबन्धन भत्काउन ओलीले कुनै कसर बाँकी राख्ने छैनन् । माओवादी, एस र जसपासँग सम्बन्ध असहज भएका दिन देउवालाई साथ दिन ओली तयार छन् । त्यसैले यही गठबन्धन बचाउनुपर्छ भन्नेमा उहाँ संवेदनशील हुनुहुन्छ,’ एक नेताले भने ।
प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच सोझो भेटघाट भएको छैन । तर कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तीन महिनामा तीनपटक बालकोट पुगेका छन् । ‘देउवा र ओली कतै नजिक नबनुन्, अर्ली इलेक्सनको वातावरण नबनोस् भन्नेमा हामी चिन्तित छौं,’ ती माओवादी नेताले भने ।

संगठन सुदृढ नभएको भन्दै दाहाल नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एस प्रतिनिधिसभाको पूर्ण कार्यकालको पक्षमा छन् । त्यतिमात्र होइन, उनीहरू गठबन्धनलाई आगामी चुनावसम्मै निरन्तरता
दिन चाहन्छन् ।
यही बेला कांग्रेसका धेरै नेताहरू भने ‘अर्ली इलेक्सन’ को पक्षमा छन् । कम्युनिस्ट नेतृत्वको सरकार असफल भएकाले लगत्तै चुनाव भए आफूहरूले जित्ने उनीहरूको विश्वास छ । तर, यही शैलीको सरकार लम्बिए आगामी निर्वाचन पनि आफ्ना लागि धराप हुन सक्ने डर उनीहरूलाई छ । उता, एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री देउवालाई भन्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल र एस अध्यक्ष नेपालप्रति लगातार प्रहार गरेका छन् । ओली सकेसम्म चाँडो गठबन्धन भत्काएर मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लैजाने योजनामा देखिन्छन् । आफूले दुई–दुईपटक विघटन गरेको प्रतिनिधिसभाको आयु लम्बिएको उनले रुचाएका छैनन् । त्यसैले ओलीको लाइनमा देउवा पुग्लान् भनेर दाहाल आफैं खुम्चिएकाजस्ता देखिन्छन् ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने प्रधानमन्त्री देउवाले दाहाललाई दबाबमा राख्न सक्ने अवस्था नभएको बताउँछन् । बरु गठबन्धनका अन्य नेताले देउवालाई दबाबमा राखेको उनको बुझाइ छ । ‘प्रधानमन्त्रीको कार्यदक्षताको समस्या हो । कुनै कारणले देउवा ओलीसँग मिलेर गए भने उनको राजनीतिक साख झन् बिग्रिन्छ,’ श्रेष्ठ भन्छन्, ‘उनलाई फाइदा पनि छैन । किनभने कांग्रेसको प्रतिद्वन्द्वी एमाले नै हो ।’ हुन त एमसीसी सम्झौता अनुमोदनका लागि गठबन्धनका नेताहरूले सहयोग नगरेकामा प्रधानमन्त्री देउवाको पनि असन्तुष्टि छ । माओवादी अध्यक्ष दाहाल र एस अध्यक्ष
नेपालले परिमार्जन गरेर मात्र एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अडान राखेपछि देउवा अगाडि बढ्न सकेका छैनन् ।’ एमसीसीमा देउवा बरु ओलीसँग नजिक देखिन्छन् । ‘तर एउटै विषयले गठबन्धनको भविष्य निर्धारण गर्दैन,’ श्रेष्ठ भन्छन् ।
कांग्रेसका एक नेता भने प्रधानमन्त्री देउवासँग सबै विकल्प खुला रहेको बताउँछन् । ‘अहिले प्रधानमन्त्री गठबन्धनका नेताहरूको दबाबमा हुनुहुन्न, बरु उहाँले अरूलाई दबाबमा राखेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘गठबन्धन नेताहरूले धेरै दबाब बनाए भने विपक्षीलाई साथमा लिएर चुनावमा जाने बलियो विकल्प प्रधानमन्त्रीसँग जीवित छ ।’
महाकालीको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेको घटनामा सरकारले ढिला मात्रै अग्रसरता लिएको बुझाइ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूको मत छ । तर दाहालले यस मुद्दामा देउवामाथि दबाब बढाएका छैनन् । तर पनि गठबन्धन भरपर्दो छैन भन्नेमा दाहाल स्पष्ट छन् । भन्दै आएका छन्, ‘गठबन्धनलाई तोड्न देशभित्र र बाहिरबाट षड्यन्त्र भइराखेको छ । प्रतिगमनलाई परास्त गर्न, संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन हरहालतमा जोगाउनुपर्ने अवस्था छ ।’
राजनीतिक विश्लेषक हरि रोका पनि अहिलेको अवस्थामा देउवाले गठबन्धनका नेताहरूलाई बाहिर राखेर ओलीसँग सहकार्य गर्ने सम्भावना नरहेको तर्क गर्छन् । ‘देउवा आफैं पनि माओवादीलाई इन्कार गर्ने हैसियतमा छैनन्,’ उनी भन्छन्, ‘फागुन २३ पछि नै यिनीहरूबीच साझा न्यूनतम कार्यक्रमको गृहकार्य हुनुपर्थ्यो, त्यो पुगेन । त्यसपछि आफैंभित्र कसलाई मन्त्री बनाउने भनेर मापदण्ड बनाउनुपर्थ्यो, त्यो पनि बनाउन सकेनन् ।’
गठबन्धनका तर्फबाट गत साउन २४ मा ११ बुँदे प्राथमिकतासहित सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको थियो । गठबन्धन सरकारले कोभिड–१९ महामारीबाट जनताको जीवनरक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासन प्रत्याभूत गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने, सहमतिका आधारमा संविधान संशोधनको पहल गर्ने, संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने, महँगी नियन्त्रण तथा भ्रष्टाचार छानबिन गर्नेलगायतका प्राथमिकता तय गरेको थियो । तर, यी विषयमा सरकार र गठबन्धनले कुनै पहल गरेका छैनन् । यसमा प्रधानमन्त्री देउवाजस्तै उनका पृष्ठपोषक दाहाल मौन छन् ।

 

मुख्य पृष्ठ

८४ औं दिनको उपलब्धि : मन्त्रालय भागबन्डा

- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबन्डामा समझदारी जुटाएका छन् । कांग्रेस र माओवादी केन्द्रले पूर्वसमझदारी भएभन्दा एक/एकवटा बढी मन्त्रालय आफ्ना लागि राखेका छन् ।

संगठन सुदृढ नभएको भन्दै दाहाल नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एस प्रतिनिधिसभाको पूर्ण कार्यकालको पक्षमा छन् । त्यतिमात्र होइन, उनीहरू गठबन्धनलाई आगामी चुनावसम्मै निरन्तरता दिन चाहन्छन् ।
यही बेला कांग्रेसका धेरै नेताहरू भने ‘अर्ली इलेक्सन’ को पक्षमा छन् । कम्युनिस्ट नेतृत्वको सरकार असफल भएकाले लगत्तै चुनाव भए आफूहरूले जित्ने उनीहरूको विश्वास छ । तर, यही शैलीको सरकार लम्बिए आगामी निर्वाचन पनि आफ्ना लागि धराप हुन सक्ने डर उनीहरूलाई छ । उता, एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री देउवालाई भन्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल र एस अध्यक्ष नेपालप्रति लगातार प्रहार गरेका छन् । ओली सकेसम्म चाँडो गठबन्धन भत्काएर मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लैजाने योजनामा देखिन्छन् । आफूले दुई–दुईपटक विघटन गरेको प्रतिनिधिसभाको आयु लम्बिएको उनले रुचाएका छैनन् । त्यसैले ओलीको लाइनमा देउवा पुग्लान् भनेर दाहाल आफैं खुम्चिएकाजस्ता देखिन्छन् ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने प्रधानमन्त्री देउवाले दाहाललाई दबाबमा राख्न सक्ने अवस्था नभएको बताउँछन् । बरु गठबन्धनका अन्य नेताले देउवालाई दबाबमा राखेको उनको बुझाइ छ । ‘प्रधानमन्त्रीको कार्यदक्षताको समस्या हो । कुनै कारणले देउवा ओलीसँग मिलेर गए भने उनको राजनीतिक साख झन् बिग्रिन्छ,’ श्रेष्ठ भन्छन्, ‘उनलाई फाइदा पनि छैन । किनभने कांग्रेसको प्रतिद्वन्द्वी एमाले नै हो ।’ हुन त एमसीसी सम्झौता अनुमोदनका लागि गठबन्धनका नेताहरूले सहयोग नगरेकामा प्रधानमन्त्री देउवाको पनि असन्तुष्टि छ । माओवादी अध्यक्ष दाहाल र एस अध्यक्ष
नेपालले परिमार्जन गरेर मात्र एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अडान राखेपछि देउवा अगाडि बढ्न सकेका छैनन् ।’ एमसीसीमा देउवा बरु ओलीसँग नजिक देखिन्छन् । ‘तर एउटै विषयले गठबन्धनको भविष्य निर्धारण गर्दैन,’ श्रेष्ठ भन्छन् ।
कांग्रेसका एक नेता भने प्रधानमन्त्री देउवासँग सबै विकल्प खुला रहेको बताउँछन् । ‘अहिले प्रधानमन्त्री गठबन्धनका नेताहरूको दबाबमा हुनुहुन्न, बरु उहाँले अरूलाई दबाबमा राखेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘गठबन्धन नेताहरूले धेरै दबाब बनाए भने विपक्षीलाई साथमा लिएर चुनावमा जाने बलियो विकल्प प्रधानमन्त्रीसँग जीवित छ ।’
महाकालीको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेको घटनामा सरकारले ढिला मात्रै अग्रसरता लिएको बुझाइ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूको मत छ । तर दाहालले यस मुद्दामा देउवामाथि दबाब बढाएका छैनन् । तर पनि गठबन्धन भरपर्दो छैन भन्नेमा दाहाल स्पष्ट छन् । भन्दै आएका छन्, ‘गठबन्धनलाई तोड्न देशभित्र र बाहिरबाट षड्यन्त्र भइराखेको छ । प्रतिगमनलाई परास्त गर्न, संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन हरहालतमा जोगाउनुपर्ने अवस्था छ ।’
राजनीतिक विश्लेषक हरि रोका पनि अहिलेको अवस्थामा देउवाले गठबन्धनका नेताहरूलाई बाहिर राखेर ओलीसँग सहकार्य गर्ने सम्भावना नरहेको तर्क गर्छन् । ‘देउवा आफैं पनि माओवादीलाई इन्कार गर्ने हैसियतमा छैनन्,’ उनी भन्छन्, ‘फागुन २३ पछि नै यिनीहरूबीच साझा न्यूनतम कार्यक्रमको गृहकार्य हुनुपर्थ्यो, त्यो पुगेन । त्यसपछि आफैंभित्र कसलाई मन्त्री बनाउने भनेर मापदण्ड बनाउनुपर्थ्यो, त्यो पनि बनाउन सकेनन् ।’
गठबन्धनका तर्फबाट गत साउन २४ मा ११ बुँदे प्राथमिकतासहित सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको थियो । गठबन्धन सरकारले कोभिड–१९ महामारीबाट जनताको जीवनरक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासन प्रत्याभूत गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने, सहमतिका आधारमा संविधान संशोधनको पहल गर्ने, संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने, महँगी नियन्त्रण तथा भ्रष्टाचार छानबिन गर्नेलगायतका प्राथमिकता तय गरेको थियो । तर, यी विषयमा सरकार र गठबन्धनले कुनै पहल गरेका छैनन् । यसमा प्रधानमन्त्री देउवाजस्तै उनका पृष्ठपोषक दाहाल मौन छन् ।


कांग्रेस (७) ः गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद
माओवादी (६)ः अर्थ, ऊर्जा, शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, उद्योग–वाणिज्य तथा आपूर्ति र खानेपानी
एकीकृत समाजवादी (४) ः पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास
जसपा (४) ः भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण

मुख्य पृष्ठ

कान्तिपुरको मुद्दामा सर्वोच्चको बृहद् पूर्ण इजलासको नजिर'अदालत वा न्यायाधीशको आलोचना अवहेलना होइन’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सञ्चारमाध्यम वा कुनै नागरिकले अदालत वा कुनै न्यायाधीशको आलोचना गरेमा अवहेलनाको मुद्दा लाग्न सक्छ भन्नु अनावश्यक भय मात्र हो, यथार्थ होइन । कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्ध दायर अवहेलना मुद्दामा फैसला गर्ने सात न्यायाधीशको बृहद् पूर्ण इजलासले पूर्णपाठ मंगलबार आएको छ जसमा भनिएको छ, ‘आलोचना वा समालोचना नसहने अथवा न्यायाधीशले व्यक्तिगत रूपमा जवाफ दिनुपर्ने विषयलाई पनि अदालतको अवहेलनाको अस्त्रका रूपमा प्रयोग गरी दबाउन नखोजियोस् ।’
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विभिन्न सरकारी कागजमा
फरक–फरक रहको विषयमा कान्तिपुर दैनिकले २०७४ माघमा निरन्तर समाचार प्रकाशन गरेको थियो । पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको उमेर फरक–फरक रहेको तथा
उनले शक्तिका आडमा पछिल्लो उमेर कायम गराएर पदावधि लम्ब्याउने प्रयास गरेको
खुलासा समाचारले गरेको थियो । तर, अधिवक्ता तोयानाथ ढुंगानाले कान्तिपुरका ती समाचारले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिए ।
त्यस्तै त्रिवि शिक्षण अस्पतालका तत्कालीन चिकित्सक प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि अर्को मुद्दा चलाइएको थियो । नेपालको चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउन एक दशकदेखि अभियान चलाउँदै आएका सत्याग्रही डा. केसीले त्रिविको ‘इन्स्टिच्युट अफ मेडिसिन’ को डिनमा डा. शशी शर्मालाई पुनर्बहाली गर्न प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले दिएको आदेशको विरोध गरेका थिए । डा. केसीले पराजुलीलाई भ्रष्ट र मेडिकल माफियाबाट सञ्चालित भन्दै उनको राजीनामा मागेर आमरण अनशन सुरु गरेका थिए । प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालबाट प्रतिवेदन उठान गरेर डा. केसीलाई राति नै पक्राउ गरी अवहेलनाको मुद्दा लगाएका थिए । तर चर्को विरोधपछि डा. केसीलाई रिहा गरिएको थियो ।
दुवै मुद्दालाई एउटै इजलासमा राखेर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको इजलासले २०७६ माघ २३ मा कान्तिपुर र डा. केसी दुवैलाई सफाइ दिएको थियो । तत्कालीन प्रधानन्यायाधीश पराजुलीका जन्ममितिबारे कान्तिपुरमा प्रकाशित समाचारले न्याय सम्पादनमा अवरोध नपुर्‍याएको ठहर गर्दै सर्वोच्चले कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा, तत्कालीन संवाददाता कृष्ण ज्ञवालीमाथि लगाइएको अवहेलनाको आरोप पुष्टि नहुने फैसला गरेको हो । उक्त फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो ।

सञ्चारमाध्यमको निगरानीले न्यायाधीशलाई स्वेच्छाचारी र अनुशासनहीन हुन रोक्ने र न्याय व्यवस्थालाई उत्तरदायी एवं विश्वसनीय बनाउन मद्दत गर्ने मान्यता पनि सर्वोच्चको फैसलामा प्रस्ट पारिएको छ । ‘पत्रकारले जनताको वारिसका रूपमा जनताकै नजरले अदालती कारबाहीलाई हेरिरहेको हुन्छ । लोकतान्त्रिक मुलुकमा न्यायाधीशले कसरी काम गरिरहेका छन्, न्यायसम्पादन कसरी भइरहेको छ भनी जान्ने अधिकार जनतालाई हुन्छ । पत्रकारहरूले समाचार र टिप्पणीमार्फत सार्वजनिक संस्थाहरूको लोकतान्त्रिक उत्तरदायित्वको स्थितिलाई जनतासमक्ष प्रस्तुत गर्ने र प्रकारान्तरले लोकतन्त्रलाई सुदृढ बनाउने कार्य गर्छन्,’ फैसलामा भनिएको छ, ‘पत्रकारहरूले अदालतका काम कारबाहीबारे समाचार र टिप्पणीहरू बनाएर जनतालाई उनीहरू अदालतको उपयोग र प्रयोग
कसरी आफ्नो हितमा गर्न सक्छन् र ती संस्थाहरूमा के कस्तो सुधार आवश्यक छ भन्नेबारे सुसूचित गर्छन् । यस्तो कार्यले अन्ततः न्यायमा जनताको पहुँच बढाउँछ ।’
बृहत् पूर्ण इजलास यस्तो निष्कर्षमा पुग्न लामो समयावधिमा सर्वोच्चले गरेका फैसलाहरू, संविधानको मर्म र अन्तर्राष्ट्रिय तुलनात्मक विधिशास्त्रलाई उद्धृत गरेको छ । नेपालमा अहिलेसम्म अवहेलनासम्बन्धी छुट्टै कानुन बनिसकेको छैन । त्यसैकारण पनि के–कस्तो अवस्थामा अदालतको अवहेलना मानिन्छ भन्ने विषयमा न्यायाधीशहरूलाई बढी स्वविवेकीय अधिकार थियो । तर सर्वोच्चका सात न्यायाधीस सम्मिलित बृहत् पूर्ण इजलासले गरेको यो फैसलाले नजिरका रूपमा सर्वोच्चका आगामी इजलासलाई पनि मार्गनिर्देशित गरेको छ । यो नजिरअनुसार अवहेलनामा कारबाही गर्न सक्ने यस्तो अधिकारको प्रयोग स्वेच्छाचारी रूपमा हुनसक्दैन । अवहेलनाको जथाभावी प्रयोग भए न्याय प्रणाली नै विकृत हुन सक्ने भन्दै सर्वोच्चले समग्र न्यायपालिकालाई सजग गराएको छ ।
बृहत् पूर्ण इजलासले ‘अदालतहरूले आलोचना सुन्न सक्ने क्षमताको वृद्धि गर्नुपर्छ’ समेत भनेको छ । फैसलामा भनिएको छ, ‘आफ्नो आदेशमा समालोचना वा आलोचना हुँदा अवहेलनामा कारबाही र सजाय गर्नु हुँदैन, अदालतले संयमित सोच राख्नुपर्छ ।’ अदालत सार्वजनिक संस्था भएकोले मुद्दामा मानिसहरूका फरक विचार हुन सक्छन् र त्यस्ता फरक विचारहरू विभिन्न किसिमले अभिव्यक्त भएका हुन्छन् । त्यस्तो अवस्थामा कहिलेकाहीं न्यायाधीशहरूले नमीठा प्रतिक्रिया र टिप्पणीसमेत सुन्नुपर्ने हुन सक्छ भन्दै सर्वोच्च अदालतले ‘त्यस्ता प्रतिक्रियाले न्यायसम्पादनमा प्रतिकूल असर नपारेसम्म वा अदालतको अख्तियारीलाई प्रत्यक्षतः चुनौती नदिएसम्म अवहेलनामा कारबाही गर्न हुँदैन,’ भनेको छ ।
न्यायाधीश भट्टराईले लेखेको ४६ पृष्ठ लामो फैसलामा अभिव्यक्ति स्वतन्त्रता लगायत जनताको मौलिक अधिकारको उपभोग र आफ्नो अवहेलनामा कारबाही गर्न सक्ने अदालतको अधिकारबीच सन्तुलित व्याख्या गरिएको छ । सर्वोच्चको यो पूर्णपाठले न्यायाधीशको व्यक्तिगत आलोचना वा फैसलाको समालोचनालाई अदालतको अवहेलना मान्न नसकिने स्पष्ट पारेको छ अर्थात् कसैले न्यायसम्पादनमा अवरोध गरेमा वा आदेश/फैसलाको अवज्ञा गरेमा मात्र अवहेलना गरेको ठहरिन्छ । ‘मुद्दामा भएको बेइन्साफीको कारण सिर्जित आलोचना वा समालोचना नसहने अथवा न्यायाधीशले व्यक्तिगत रूपमा जवाफ दिनुपर्ने विषयलाई पनि अवहेलनाको अस्त्र प्रयोग गरी दबाउन नखोजियोस् भन्ने विषयमा अदालत सतर्क रहनु आवश्यक छ,’ फैसलामा भनिएको छ ।
यद्यपि सर्वोच्च अदालतले प्रकाशन वा अभिव्यक्तिमा जवाफदेही हुनु नपर्ने मान्यतालाई भने अस्वीकार गरेको छ । ‘न्यायको प्रवाहलाई अवरुद्ध गर्ने, अवान्छित लाञ्छना लगाएर न्यायिक कारबाहीमा भ्रम सिर्जना गर्न खोज्ने वा न्यायाधीश, कर्मचारी, मुद्दाका पक्ष र कानुन व्यवसायीलाई न्यायको मार्गबाट विचलित गर्ने मनसायका साथ काम गर्ने, दूषित मनसायका साथ जनताको नजरमा न्यायपालिकाको प्रतिष्ठा गिराउने जस्ता कार्य भने सह्य हुँदैन,’ फैसलामा उल्लेख छ, ‘त्यस्तो कार्य अवश्य पनि अवहेलनाको विषय बन्दछ । यस्तो काम रोक्ने र दोषीउपर सजाय गर्ने अधिकार अदालतले राख्दछ ।’

गोविन्द केसीको गिरफ्तारी ः ॅसत्याग्राहीमाथि अनुचित हस्तक्षेप’
२०७४ पुस २३ मा सर्वोच्च अदालतले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई पुनर्बहाली गर्न दिएको आदेशविरुद्ध असन्तुष्ट डा. केसीले आमरण अनशन थालेका थिए । तत्कालीन प्रधानन्यायाधीश पराजुलीविरुद्ध डा. केसीको आक्रोशलाई सर्वोच्चले ‘एउटा व्यक्तिको तत्कालको आवेशपूर्ण अभिव्यक्ति’ भनेको छ । अदालतका आदेश सबैले मान्नुपर्ने, त्यसमा चित्त नबुझे कानुनी प्रक्रियाद्वारा सुधारको प्रयास गर्नुपर्ने तर त्यस्तो विषयलाई लिएर न्यायाधीशप्रति जथाभावी बोल्ने छुट कसैलाई नहुने पनि सर्वोच्चले स्पष्ट पारेको छ ।
डा. केसीको टिप्पणी ‘अशोभनीय’ भए पनि उनको अभिव्यक्तिले अदालतको अवहेलना भने नभएको अदालतको ठहर छ । ‘बरु जुन हतारोका साथ अनशनस्थलबाट डा. केसीलाई पक्राउ गरियो, आफ्नो प्रतिरक्षा गर्न पर्याप्त समय दिइएन, अदालत नखुल्दै उपस्थित गराउने र हतारमा बयान गराउने जुन कार्य भयो, त्यो
स्वच्छ सुनुवाइका सिद्धान्तअनुकूल भएको देखिँदैन,’ फैसलामा भनिएको छ, ‘एउटा व्यक्तिको आवेशपूर्ण अभिव्यक्तिप्रति अदालतबाट संस्थागत रूपमा जनाइने प्रतिक्रिया कदापि आवेशपूर्ण हुनुहुँदैन । यसो गरिनु स्वतन्त्र र निष्पक्ष न्यायको मूलभूत मान्यताविरुद्ध हुन्छ ।’
डा. केसीले अदालत परिसर बाहिर दिएको आवेशपूर्ण प्रतिक्रियाबारे बुझ्न ‘तत्कालै पक्राउ गर्नुपर्ने अनिवार्यता नभएको’ भन्दै सर्वोच्चले भनेको छ, ‘आमरण अनशनमा बसेको एकजना सत्याग्रहीले विज्ञप्ति प्रकाशित गरेको केही घण्टाभित्रै कर्मचारीमार्फत प्रतिवेदन लिने, पेसीसूची निकाल्ने र तत्काल इजलास गठन गरी पक्राउ गर्न आदेश दिने, पक्राउ गरी प्रहरी हिरासतमा राख्ने, प्रतिरक्षाको लागि पर्याप्त समय पनि नदिई भोलिपल्ट अदालत खुल्नुभन्दा अघि नै उपस्थित गराउने जस्ता अदालतले गरेका कार्यहरू स्वच्छ सुनुवाइको दृष्टिले उचित देखिँदैन ।’

Page 4
समाचार

२९२ सुन तस्करको सूची सरकारले लुकायो

- मातृका दाहाल

(काठमाडौं) - सरकारले ‘३८ क्विन्टल सुन तस्करीमा संलग्न’ भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदन बुझाएको ३९ महिना पुगिसक्दा पनि प्रतिवेदनमा उल्लेख गरिएका ‘संलग्न’ व्यक्तिमाथि अनुसन्धान गरिएको छैन ।
समितिका संयोजक पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ वर्षको अवधिमै तस्करीबाट ३८ क्विन्टल सुन भित्रिएको जानकारी दिँदै त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए । प्रतिवेदन बुझ्दै ओलीले तस्करीमा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका थिए । ‘प्रतिवेदन सरकारी सम्पत्ति भइसकेको छ, सार्वजनिक गर्ने/नगर्ने कुरा सरकारको हो,’ हाल कोलकातास्थित महावाणिज्यदूत रहेका पौडेलले कान्तिपुरसँग भने, ‘हामीले त सरकारले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार गरेर बुझाएका हौं ।’ प्रधानमन्त्री कार्यालयले प्रतिवेदन अध्ययनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।
पूर्वगृहसचिव उमेशप्रसाद मैनाली सुन तस्करीविरुद्ध गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुनुका तीन कारण औंल्याउँछन् । सरकारले आवश्यक ठानेरै त्यसबेला सुन तस्करीसम्बन्धी छानबिन समिति गठन गरेको र त्यसको प्रतिवेदन अपराध अनुसन्धानसँग समेत जोडिएको हुनाले गोप्य राखिएको हुन सक्ने उनले बताए । ‘त्यसको गाम्भीर्य र संवेदनशीलता हेरेर नै बाहिर नल्याइएको हुन सक्छ । असल मनसायबाट सोच्ने हो भने यो सरकारको तजबिजीमा निर्भर रहन्छ,’ उनले भने, ‘तर, सरकारको कार्यशैली र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्ति हेर्दा प्रतिवेदनले सुन तस्कर किटान गरेका व्यापारीलाई मौका पर्दा तह लगाउने अस्त्रका रूपमा प्रयोग गरिएको हो भन्ने शंका पनि गर्ने ठाउँ छ ।’ मैनालीले शंका गरेजस्तै छानबिन समितिको अनुसन्धान अघि बढ्दै जाँदा सत्ता र शक्तिनिकट रहेका कतिपय व्यापारी नै सुन तस्करीमा मुछिएपछि ‘माथिको आदेशमा थप अनुसन्धान रोकिएको’ स्रोत बताउँछ । त्यसपछि बीचमै प्रतिवेदन टुंग्याएर सरकारलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सरकारले नै प्रतिवेदन कार्यान्वयन गर्न नदिएको स्रोतले जनाएको छ ।
दुबईबाट २०७४ माघ ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आएको तस्करीको करिब ३३ केजी सुन ‘नाटकीय रूपमा हराएपछि’ को प्रकरण छानबिन समिति गर्दा एक वर्षमा ३८ क्विन्टल सुन भित्रिएको पाइएको थियो । ३३ किलो सुन हराएको २ सातापछि २०७४ माघ २२ मा विमानस्थलमै सानु बन शंकास्पद रूपमा मृत भेटिएका थिए । विमानस्थलमै ट्यांकरको चक्कामा परेर उनको मृत्यु भएको भनिए पनि बनको हत्या वा दुर्घटनामा मृत्यु भएको भन्ने विश्वस्त आधार खुल्न सकेन । तर उनी सुन ओसारपसारमा प्रयोग भएका भरिया रहेको अनुसन्धान समितिको प्रतिवेदनमा उल्लेख छ ।
थाई एयरवेजका टेक्निसियनसमेत रहेका बन विदेशबाट विमानस्थलमा ल्याइएको सुन त्यहाँबाट बाहिरसम्म पुर्‍याउने काममा खटिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले जनाएको छ । एक महिनापछि २०७४ फागुन १८ मा ३३ केजी सुन तस्करीका मुख्य योजनाकार गोरे भनिने चूडामणि उप्रेतीको समूहले सुन गायब पारेको आरोपमा भरिया सनम शाक्यको हत्या गरेको थियो । त्यसको एक महिनापछि चैत १९ मा सहसचिव पौडेलको संयोजकत्वमा सरकारले सुन तस्करीसम्बन्धी छानबिन समिति गठन गरेको थियो । समिति गठन भएको १० दिनपछि चैत २९ मा काठमाडौंबाट प्रेमलाल चौधरी पक्राउ परे । नेपाल वायु सेवा निगमका लोडरसमेत रहेका उनीमाथि विमानस्थलबाट सुन ओसारपसारमा संलग्न रहेको आरोप थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखेर अनुसन्धान थालियो । तर, पक्राउ परेको भोलिपल्टै चौधरी प्रहरी हिरासत कक्षसँगै रहेको शौचालयमा मृत भेटिए । सुन तस्करीको भरियाका रूपमा पक्राउ परेका उनको मृत्यु पनि शंकास्पद बन्यो । यो प्रकरणमा अरू थुप्रै मानिस पक्राउ परेका थिए ।

समाचार

गोरेसहित ६ जनालाई जन्मकैद

- कान्तिपुर संवाददाता

(विराटनगर) - करिब ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका ६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले जन्मकैद सजाय सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार ६ जनालाई जन्मकैद, एकलाई तीन वर्ष र अर्का एकलाई ६ महिनाको सजाय सुनाएको हो । अरू प्रतिवादीले भने सफाइ पाएका छन् ।
मुख्य प्रतिवादी चूडामणि उप्रेती (गोरे), टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजाय भएको स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । ७७ जनालाई प्रतिवादी बनाएर मोरङ प्रहरीले
२०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगोसमेत माग गरिएको थियो ।
प्रतिवादीमध्ये २१ जना फरार छन् । तिनका नाममा इजलासले मुद्दालाई मुल्तबीमा राखेको छ । बाँकी प्रतिवादीको कुनै कसुर पुष्टि नभएकाले सफाइ दिइएको स्रेस्तेदार राणाले बताए । तस्करलाई सघाएको र अपराधी भगाउन सहयोग गरेको भन्दै पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो । खत्री र राउतबाहेक अरू उच्च अदालत विराटनगरको आदेशमा तारिखमा छुटेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका तत्कालीन डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको टोलीले २०७४ फागुन १९ गते बा१२च ५९६३ नम्बर स्कारपियो गाडीको सिटमुनि लुकाएर राखेको अवस्थामा शाक्यको शवसहित ३ जनालाई विराटनगर महानगर–३ कन्यामार्गबाट नियन्त्रणमा लिएर मोरङ प्रहरीलाई बुझाएको थियो ।
प्रहरीका अनुसार २०७४ माघ ९ गते दुबईबाट भित्रिएको करिब ३३ किलो सुन भारत लैजाने योजनाअनुसार शाक्यले भद्रपुर पुर्‍याएपछि समूहसँग सम्पर्कविहीन भएका थिए । उप्रेती (गोरे) सहित काभ्रेका टेकराज मल्ल ठकुरी, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्लेले नियन्त्रणमा लिएर करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको मृत्यु भएको प्रहरीको ठहर थियो । प्रतिवादीमध्ये सुरेन्द्र गौतम, रुस्तम मियाँ, रोहित आचार्य, टुकबहादुर मगर, मरिन तामाङ, मोहनकुमार अग्रवाल, सुनीलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, कमल कार्की, मणिराज चौलागाईं, शिवकुमार गुवाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, माधव आचार्य, अभिप्रकाश नेवार, रक्षा भण्डारी र सन्दीप खड्का फरार रहेको अदालतले जनाएको छ ।

 

समाचार

कहाँ गयो ३३ किलो सुन ?

- कान्तिपुर संवाददाता


हराएको भनिएको ३३ केजी सुन कसले लग्यो भन्ने खुल्न सकेको छैन । छानबिन समितिको प्रतिवेदनमा धरानका एमके अग्रवाल भनिने मोहनकुमार अग्रवाल सुन तस्करीका मुख्य लगानीकर्ता रहेको उल्लेख गरिएको छ । राप्रपा नेता भुजुङ गुरुङ, चूडामणि उप्रेती, रमेश उप्रेती, मोहन काफ्ले, छिरिङ वाङ्गेल घले, महावीर गोल्यान, विमल पोदारलगायतलाई तस्करीका योजनाकार भनिएको छ । उनीहरू सबै शक्ति केन्द्रसँग निकट व्यक्ति रहेको स्रोतले जनाएको छ । सुन तस्करीको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार २०७० असार २६ गते बरामद ३५ केजी, २०७१ साउन र मंसिरमा बरामद क्रमशः २० केजी र २५ केजी, २०७४ भदौ १९ मा बरामद ८८ केजी, २०७३ चैत ४ मा विमानस्थलबाट बरामद २ लाख ८६ हजार डलरलगायतको तस्करीमा पनि पोदारको संलग्नता खुलाइएको थियो । पछिल्लो पटक ३३ केजीमा पनि पोदारको संलग्नता खुलाइयो । तर, उनीमाथि थप गहिरिएर अनुसन्धान नै गरिएन ।
भारतीय नागरिक विनोदकुमार सोनी २०६९ असोज १९ मा सवा १ करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित दुबई उड्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । अनुसन्धान गर्दै जाँदा उनी काठमाडौंमा सक्रिय सुन तस्करको सेटिङमा विदेशी मुद्रा लिएर दुबई उड्न लागेको खुल्यो । सोनीले प्रहरीसमक्ष विमल पोदार, मुरारीलाल जमालिया (गोयल) लगायतको योजनामा काम गरेको र आफू भरिया मात्रै भएको बताएका थिए । उनले किटान गरेका व्यक्तिले शक्ति केन्द्रसम्म पहुँच राख्छन् । छानबिन समितिले कालिकास्थानस्थित सिल्भर सिटी अपार्टमेन्टका सञ्चालकसमेत रहेका पोदारलाई पक्राउ गरेपछि अनुसन्धान नै रोकिएको थियो ।
छानबिन प्रतिवेदनमा तस्करी रोक्न विमानस्थलको सुरक्षा व्यवस्थापनमा सुधारका साथै नाकामा एक्सरे मेसिन जडान गर्न सुझाव दिइएको थियो । थानकोटसहित तातोपानी, रसुवागढी, काँकडभिट्टालगायत नाकामा प्रविधिबाटै मानिस तथा सामान जाँच गर्ने व्यवस्था मिलाउन भनिएको थियो । सुन कारोबारलाई पारदर्शी बनाउन कोटा प्रणाली हटाउनुपर्ने, व्यापारीले खरिद गरेको सुनअनुसारको हिसाब यकिन गर्न प्रभावकारी कदम चाल्नुपर्नेलगायत सुझाव पनि दिइएका थिए । ती सुझाव कार्यान्वयन गरिएन । पूर्वसचिव मैनालीले छानबिन समिति गठन भएपछि आम नागरिकले विश्वास गर्ने गरी सरकारले जवाफ दिनुपर्ने बताए । ‘३३ केजी सुन हराएको केसमा अघि बढेको सुन तस्करीको छानबिन ३८ क्विन्टल सुन तस्करी भएको विषयसम्म पुग्यो तर त्यसमा संलग्न को थिए, सुन कहाँ गयो भन्ने खोइ त तथ्य र प्रमाण ?’ उनले भने, ‘यस विषयमा सरकारले नागरिकका जिज्ञासा विश्वस्त रूपमा निरूपण गर्नुपर्छ ।’ छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुनुका पछाडि ‘घटना र तथ्य/प्रमाणलाई डिफ्युज गर्ने, आगामी दिनमा थप शंकास्पदमाथि असल मनसायले अनुसन्धान गर्ने वा कसैमाथि तह लगाउन/सौदाबाजीका लागि सूचना लिने’ कारण रहेको अनुमान गरिएको छ ।

समाचार

रेमिट्यान्स घट्दै, सुन तस्करी बढ्दै

- जनकराज सापकोटा,यज्ञ बञ्जाडे

(काठमाडौं) - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असोज ४–१३ सम्मका १० दिनमा मात्रै अवैध सुन बरामदका ६ घटनामा ५ जना पक्राउ परे । उनीहरू सबै जना मलेसिया र दुबईबाट फर्केका प्रवासी नेपाली श्रमिक थिए । प्रहरीले ५ जनाबाट १ किलो ५ सय ९९ ग्राम सुन बरामद गरेको थियो, जसको बजार मूल्य १ करोड २१ लाख ८८ हजार रुपैयाँभन्दा धेरै थियो । साउनयता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन ओसारपसारका घटनामा १७ जना पक्राउ परिसकेका छन् । उनीहरू सबैको साथबाट ५ करोड ५९ लाख रुपैयाँभन्दा बढी बजार मूल्यको साढे सात किलोभन्दा धेरै सुन बरामद गरिएको थियो ।
कोरोना महामारीका कारण महिनौं बन्द भएको अन्तर्राष्ट्रिय उडान खुलेसँगै कतार, दुबई र मलेसियाजस्ता मुख्य श्रम गन्तव्यबाट आउने श्रमिक अवैध सुन तस्करीको आरोपमा पक्राउ परेको घटना नौलो होइन । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स प्रवाहमा कमी आएको बताइरहेको र बैंकहरूले आयात गरेको सुन धमाधम बिक्री भइरहेको परिदृश्यमा सुन तस्करीका घटनाहरू सार्वजनिक हुनु भने सामान्य संयोग मात्रै होइन । विगतमा अवैधानिक प्रणालीबाट धेरै सुन भित्रिँदा बैंकहरूले आयात गरेको सुन बिक्री नभएर ‘स्टक’ मै थन्किने गरेको थियो । तर यसपाला रेमिट्यान्समा कमी र अवैध सुन भित्रिएका घटनामा बढी भइरहेका बेला पनि वैध सुनको बजार प्रभावित भएको देखिँदैन ।
राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक तथ्यांक केलाउँदा रेमिट्यान्स आप्रवाह र सुनको आयातबीच प्रत्यक्ष सम्बन्ध देखिन्छ । अवैधानिक रूपमा धेरै सुन भित्रिएका दिनमा
रेमिट्यान्स आप्रवाह घट्ने र यस्ता घटनामा कमी आएका बेला रेमिट्यान्स आप्रवाहमा सुधार हुने गरेको पाइन्छ । गत जेठ र साउनमा औसतभन्दा कम रेमिट्यान्स भित्रियो । त्यसअघि निषेधाज्ञाका बेला भने रेमिट्यान्स बढेको थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१ प्रतिशतले कम हो । भदौमा अवैध सुन तस्करीका चार घटनामा चार जना पक्राउ परे । उनीहरूबाट प्रहरीले ४ किलो ३ सय ३० ग्राम अवैध सुन बरामद गर्‍यो, जसको बजार मूल्य झन्डै तीन करोड रुपैयाँ हुन्छ । पक्राउ परेपछि मात्रै ती चार घटना सार्वजनिक भए पनि पक्राउ नपरेका अरु कैयौं घटना पनि हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् । राष्ट्र बैंककै अधिकारीहरू हुन्डी कारोबारीको व्यापकता र सुनलगायत बहुमूल्य धातुको अवैध कारोबारको असर रेमिट्यान्समा पर्न थालेको विश्लेषण सुनाउँछन् ।
अवैधानिक रूपमा सुनको कारोबार बढ्न थालेपछि
रेमिट्यान्स आप्रवाह प्रभावित हुने (घट्ने) देखिएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘सुनको अवैधानिक कारोबार बढ्नु मात्रै रेमिट्यान्स घट्नुको कारण त होइन, एक महत्त्वपूर्ण कारण भने हो,’ उनले भने । रोजगारीका लागि विदेश गएका नेपालीले घर फर्किंदा सुनलगायत बहुमूल्य जिन्सी पनि साथै लिएर आउने भएकाले त्यति बेला रेमिट्यान्स घट्ने गरेको उनको भनाइ छ । ‘यही क्रममा केही हदसम्म सुनको अवैध कारोबार भएको पनि सुन्न पाइन्छ,’ उनले भने, ‘यसको अर्थ सुनको अवैध कारोबार र रेमिट्यान्स आप्रवाहको उल्टो सम्बन्ध देखिन्छ ।’
राष्ट्र बैंकले मुलुकको कुल जनसंख्या र उनीहरूले गर्ने मागलाई आधार बनाएर सुन आयातका सीमा (कोटा) निर्धारण गरिदिन्छ । ‘यस्तो सीमा प्रायः मागभन्दा कम हुन्छ । त्यसैले बजार माग पूर्तिका लागि पनि अवैधानिक प्रणालीबाट सुन आयात हुने गरेको पाइन्छ,’ थापाले भने । अवैध सुन बरामदबाट घटना केलाउँदा पनि पूर्वकार्यकारी निर्देशक थापाको भनाइ पुष्टि हुन्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ यताका ५ वर्ष २ महिनामा ३ सय ८२ किलो अवैध सुन बरामद भएको छ । यसको औसत बजार मूल्य नै ३१ अर्ब ५२ करोड ६१ लाखभन्दा धेरै हुन्छ, जुन गत साउनमा वैधरूपमा भित्रिएको रेमिट्यान्सको झन्डै आधा रकम हो । आर्थिक वर्ष ०७३/७४ मा ६४ किलो र ०७४/७५ मा २ सय किलो अवैध तरिकाले सुन भित्रिएको थियो । ०७५/७४ मा ५१ किलो र ०७६/७७ मा ३० किलो सुन बरामद गरिएको थियो । ०७७/७८ मा ३२ किलो अवैध सुन बरामद गरिएको थियो, जसमा ३१ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै नियन्त्रणमा लिइएको हो । चालु आर्थिक वर्षका दुई महिनामै ५ किलो अवैध सुन बरामद भएको छ ।
नेपालमा वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २३ वटाले सुन आयातका लागि राष्ट्र बैंकबाट अनुमति लिएका छन् । ती बैंकले आलोपालो दिनमा २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ । यही व्यवस्थाअनुसार गत आर्थिक वर्षमा बैंकहरूले ३ हजार ९ सय किलो सुन आयात गरेका थिए, जसमध्ये ३ हजार ७ सय २६ किलो सुन बिक्री भइसकेको बैंकर्स संघले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा २ हजार ४ सय किलो सुन आयात गरिएको थियो । चालु आर्थिक वर्षका साउन र भदौमा गरी बैंकहरूले १ हजार १ सय किलो सुन आयात गरेको संघको तथ्यांक छ । त्यसमध्ये करिब १ सय १० किलो सुन मात्र बाँकी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य सरकारले दिनमा २० किलोका दरले सुन आयात गर्ने कोटा निर्धारण गरे पनि चाडबाडका बेला ३५ देखि ४० किलोसम्म सुनको माग भइरहेको सुनाए । उनले भने, ‘सुनको माग बढेको बढ्यै छ तर बेच्नेहरूले सुन पाउनै सकिरहेका छैनन् ।’ यस्तो परिस्थितिले सुनको अवैध बजार फस्टाउने जोखिम रहने उनको ठम्याइ छ । कोरोना महामारीको असरले विदेशबाट उडान नियमित नहुँदा पनि सुन बजारमा असर परिरहेको शाक्यले बताए । विदेशबाट फर्किने नेपालीले
आफ्नो उपयोगका लागि सुनका गरगहना र बढीमा ५० ग्रामसम्म सुन ल्याउन पाउने कानुनी व्यवस्था छ । ‘विदेशबाट आउने यात्रुले वैधरूपमा ल्याउन पाउने सुन पनि अहिले रोकिएको छ । त्यसैले पनि बजारमा सुनको माग धान्नै नसकिने भएको छ,’ शाक्यले भने ।
कोरोना संक्रमण सुरु भएपछि सरकारले २०७६ चैत पहिलो सातादेखि विदेशी नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको थियो, जसलाई गत असोज ७ मा मात्रै फुकुवा गर्‍यो । यस बीचमा अन्तर्राष्ट्रिय उडानबाट आउने विदेशी यात्रु अवैध सुनसहित पक्राउ परेका घटना छैनन् । तर अन्तर्राष्ट्रिय यात्रुका निम्ति उडान खुलेसँगै सानो परिणाममा अवैध सुन बोकेर आउने नेपाली एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् । जस्तो कि, असोज १० मा प्रहरीले १ सय ४८.५ ग्राम सुनको ३ थान बालासहित भक्तपुर दुवाकोट बस्ने ३३ वर्षीय समुन्द्र दंगाल र बूढानीलकण्ठ बस्ने ४३ वर्षीय सन्तवीर राईलाई विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गर्‍यो । सिंगापुर एअरलाइन्सको उडानबाट काठमाडौं आएका दंगाल पक्राउ परेपछि उनलाई सुन ओसार्न राईले पनि सहयोग गरेको खुलेको थियो । प्रहरीको प्रारम्भिक बयानमा दंगाल भरिया मात्रै भएको खुल्यो ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल संगठित सुन तस्करीका घटना कमी आएजस्तो देखिए पनि एक वा अनेक स्वरूपमा अन्तरदेशीय सुन तस्करी कहिल्यै नरोकिने बताउँछन् । उनले यस्ता तर्कका पछाडि नेपाल र भारतको बजारमा सुनको माग र वैध आयातबीच देखिएको खाडललाई कारण देख्छन् । उनले भने, ‘भारतमा पनि सुनको मागभन्दा निकै थोरै वैध आयात छ । नेपालमा पनि यस्तै छ ।’ उनले अवैध सुन ओसारपसारलाई रेमिट्यान्स, अन्तरदेशीय लागूऔषध कारोबार र हुन्डीको कारोबारसँग जोडेर हेर्नुपर्ने बताए । ‘रेमिट्यान्स घट्दा अवैध सुन तस्करी बढ्ने वा लागूऔषधको कारोबार बढेका बेला सुनमार्फत त्यसको भुक्तानी दिने हुनाले अवैध सुन तस्करी हुने गरेको देखिन्छ,’ उनले भने ।
नेपाल रेमिटर्स एसोसिएसनका उपाध्यक्ष चन्द्र टण्डन निषेधाज्ञा खुकुलो भएसँगै मानिसको ओहोरदोहोर पनि बढेकाले सुनका गरगहनाका ल्याउने क्रम वृद्धि भएको र हुन्डीलगायत गैरकानुनी माध्यमको चहलपहल बढेको हुन सक्ने बताउँछन् । उनले भने, ‘दसैंका बेला भएकाले रेमिट्यान्स आप्रवाह बढ्नुपर्ने हो । तर यो वर्ष त्यस्तो उत्साह देखिएको छैन ।’ पूर्वअर्थसचिव रामेश्वर खनाल सामान्य अवस्थामा कम
रेमिट्यान्स भित्रिनुलाई प्रवृत्तिकै रूपमा अर्थ्याउँछन् । ‘केही रेमिट्यान्स कम्पनीहरूले नै विदेशी मुद्रा बाहिरै राख्ने र अरू स्रोतबाट सम्बन्धित घरपरिवारलाई पैसा दिने गरेको देखिएको छ,’ उनले भने, ‘त्यो रकम सुनलगायत धातुको अवैध कारोबारमा उपयोग भएको हुन सक्छ ।’ यही कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप घट्ने गरेको छ । बैंकमा अहिले निक्षेप बढ्न नसक्नुको एक कारण यो पनि हुन सक्ने उनले बताए ।
पूर्वअर्थसचिव खनालको बुझाईमा तुलनात्मक रूपमा सुनमा गरिएको लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । ‘लगानीका अरू विकल्प कम भएको र आर्थिक संकटको समयमा सुनमा लगानी बढेको देखिन्छ,’ उनले भने, ‘सुनमा भएको लगानी तरल हुने भएकाले सुरक्षित मानिन्छ ।’ केही महिनाअघिसम्म नेपालको सेयर बजार बढिरहेको समयमा सुनको अवैधानिक कारोबारको चर्चा कम हुने गर्थ्यो । पछिल्ला महिनामा सेयर बजार घट्दो क्रममा रहेकाले लगानीकर्ताको आकर्षण सुनतिर बढेको खनालले बताए ।

शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चितिमा असर
मुलुकमा विदेशी मुद्रामा हुने खर्च र आम्दानीको अवस्था देखाउने शोधनान्तर स्थिति गत साउनमा ३८ अर्ब ७५ करोड रुपैयाँले ऋणात्मक रह्यो । यसलाई धेरैले रेमिट्यान्स आप्रवाहनमा आएको कमीसँग जोडेर विश्लेषण गरे । विगतका वर्षहरूमा आयात कम थियो । आयातमार्फत बाहिरनेभन्दा रेमिट्यान्समार्फत भित्रिने विदेशी मुद्रा धेरै हुन्थ्यो । यसकारण मुलुकमा विदेशी मुद्रा सञ्चितिमा धेरै चाप पर्दैन थियो । पछिल्ला वर्षमा परिस्थिति बदलिएको छ ।
रेमिट्यान्स घट्दो क्रममा छ भने आयात उच्च
गतिले बढिरहेको छ । जसका कारण रेमिट्यान्सले आयातमार्फत बाहिरिएको विदेशी मुद्राको क्षतिपूर्ति गर्न सक्ने अवस्था छैन । यही कारण शोधानान्तर घाटामा गएको छ भने विदेशी मुद्रा सञ्चिति घट्दो छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असारको तुलनामा साउनमा विदेशी मुद्रा सञ्चिति करिब ४५ अर्ब रुपैयाँ (३३ करोड अमेरिकी डलर) ले घटेको छ । यो क्रम जारी छ । अपेक्षित रूपमा रेमिट्यान्स नआएको तर आयात बढिरहेको हुनाले भदौमा पनि विदेशी मुद्रा सञ्चिति धेरै घट्ने र शोधनान्तर घाटा बढ्ने प्रक्षेपण राष्ट्र बैंकका अधिकारीहरूको छ ।

Page 5
समाचार

विधेयक फिर्ता लिएर संसद् अधिवेशन अन्त्य गर्ने तयारी

- मकर श्रेष्ठ

(काठमाडौं) - सरकारले संसद्मा विचाराधीन केही विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार सरकारले रेलसम्बन्धी विधेयक, संघीय निजामती सेवा विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक फिर्ता लिन संसद् सचिवालयमा र आन्तरिक छलफल गरिरहेको छ । ‘संसद्मा विचाराधीन विधेयकसँगै मिल्ने अध्यादेश ल्याउँदा आलोचना हुने भएपछि विधेयक नै फिर्ता गर्ने पहल चलिरहेको छ,’ स्रोतले भन्यो ।
सरकारले फिर्ता गर्न चाहेको रेल विधेयक राष्ट्रिय सभाबाट र निजमती विधेयक प्रतिनिधिसभाको समितिबाट पारित भइसकेका छन् । प्रतिनिधिसभामा अहिले प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेको र संसद्को हिउँदे अधिवेशन पुसपछि मात्रै हुने भएकाले तत्काललाई कानुनी शून्यता हटाउन सरकारले अध्यादेश ल्याउन चाहेको स्रोतले जनाएको छ । ‘विधेयक फिर्ताका विषयमा संसद् सचिवालयमा एक चरण छलफल भइसक्यो । सरकारले कुन–कुन विधेयक फिर्ता लिने भनेर निर्णय गर्न बाँकी छ,’ कानुन मन्त्रालय स्रोतले भन्यो ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विधेयक फिर्ता लिन सकिने विषयमा अनौपचारिक जानकारी गराएका छन् । प्रतिनिधिसभाको अर्को बैठक २२ गतेलाई तय गरिएको छ भने राष्ट्रिय सभाको बैठक असोज २४ का लागि तोकिएको छ । संसद् बैठक चलिरहे पनि बिजनेस शून्य छ । प्रमुख प्रतिपक्ष एमालेका सांसदले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै बैठक सुरु हुनेबित्तिकै अवरुद्ध गर्दै आएका छन् । मंगलबारको बैठक ८ मिनेटमात्रै चलेको थियो ।
कानुनमन्त्री कार्कीले प्रधानमन्त्रीका तर्फबाट दलित आयोगको प्रतिवेदन बुझाएपछि बैठक स्थगित भएको थियो । यसअघि असोज ११ मा ६ मिनेट र असोज १४ मा ९ मिनेट बैठक चलेको थियो । संसद्को नवौं अधिवेशन भदौ २३ देखि जारी छ । सुरुदेखि नै जारी एमालेको विरोधबीच सरकारले बजेटसम्बन्धी तीनवटा विधेयक भने पारित गरिसकेको छ ।
सरकारले फिर्ता लिन चाहेको रेल विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा सन्देशसहित टेबुल भइसकेको छ । कानुन अभावमा रेल सञ्चालन र कर्मचारी नियुक्ति हुन नसकेपछि सरकारले यसअघि पनि अध्यादेश ल्याएको थियो ।
सरकारले विधेयक फिर्ता लिएर पुनः अध्यादेशको बाटो रोज्न लागेको हो । सरकारले फिर्ता लिन चाहेको संघीय निजामती सेवा विधेयक संसद्मा अड्किँदा कर्मचारी व्यवस्थापन गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । एसिडपीडितलाई न्याय दिने र आक्रमणकारीलाई कडा सजाय तोकिएको विधेयक पनि संसद्मा रोकिएपछि विधेयक नै फिर्ता लिएर पुनः अध्यादेश ल्याउन सरकारले कसरत गरेको हो ।

फिर्ता कसरी हुन्छ ?
प्रतिनिधिसभा नियमावलीको नियम १२१ मा सरकारले विधेयक फिर्ता लिन सक्ने प्रावधान छ । नियमावलीअनुसार सरकारले
संसद्मा पेस गरेको विधेयक
फिर्ता लिन अनुमति माग्ने प्रस्ताव पेस
गर्न चाहे एक दिनअगावै संसद्मा सूचना दिनुपर्ने हुन्छ ।
विधेयक संसदीय समितिमा विचाराधीन रहेको अवस्थामा सरकारले फिर्ता लिने प्रस्ताव प्रस्तुत भए समितिले बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । संसद्मा विचाराधीन विधेयक फिर्ताका लागि सरकारले सभामुखको अनुमति लिएर प्र्रस्ताव पेस गर्नुपर्ने हुन्छ । विधयेकलाई फिर्ता लिने प्रस्तावको कुनै सांसदले विरोध गरे प्रस्ताव गर्ने तथा विरोध गर्ने सदस्यलाई सभामुखले संक्षिप्त वक्तव्यका लागि अनुमति दिनुपर्ने हुन्छ । त्यसपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ पेस गर्नेछन् । संसद्मा दर्तामात्रै भएको विधेयकका हकमा सदनमा निर्णयार्थ पेस गरिरहनु पर्दैन । राष्ट्रिय सभामा उत्पत्ति भएको रेल विधेयक प्रतिनिधिसभामा विचाराधीन अवस्थाको विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमति लिनुपर्ने हुन्छ ।

Page 6
वाग्मती प्रदेश

घट्दै छ पानीको सतह, छैन पुनर्भरणमा गम्भीरता

- सीमा तामाङ

(काठमाडौं) - शंखमूलकी ज्योति श्रेष्ठले १२ वर्षदेखि भूमिगत पानी प्रयोग गरिरहेकी छन् । उनको घर परिसरको भूमिगत पानीको स्रोत बहालमा बस्ने थप चार परिवारले पनि चलाउँछन् । धारामा पानी आउने/नआउने भर हुन्न । त्यसैले पाँच परिवारले भूमिगत स्रोतबाट दैनिक कति पानी तानेर चलाउँछन् भन्ने हिसाब कसैले राखेको छैन । ‘वर्षायाममा पानीको समस्या हुँदैन, जति पनि पुग्छ,’ उनले भनिन्, ‘हिउँदमा ट्यांकरको पानी किनेर चलाउँछौं ।’ उनको घरमा आकाशे पानी संकलनको जोहो पनि छ तर भूमिगत स्रोतबाट निकालेर चलाइने पानी पुनः जमिनमै भने फर्कन पाउँदैन । काठमाडौंमा यस्तो शंखमूलको एउटा घरमा मात्रै होइन, धेरै परिवार भूमिगत स्रोतमा भर परेका छन् ।
वर्षाको पानी होस् वा जमिनमुनिबाट बोरिङ गरेर झिकिने पानी, प्रयोगपछि त्यसले जमिनमै तल जान पाउनुपर्छ । पुनर्भरणको प्रक्रिया बाँधित भए प्रकृतिको चक्रमै असर गर्छ । तर बर्सेनि घर, भवन थपिएको राजधानीमा पानी जसरी हुन्छ चलाउने, अत्यधिक चलाउने प्रवृत्ति छ, पुनर्भरणको चिन्ता कसैलाई छैन । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार श्रेष्ठको घरमा जस्तै उपत्यकामा एक हजारभन्दा बढी ट्युबवेल छन् । त्यसमध्ये ७५ प्रतिशत ट्युबवेल लाइसेन्स प्रणालीमा आइसकेको छ भने बाँकी ल्याउने प्रयास भइरहेको बोर्डका हाइड्रोलोजिस्ट अनुज खनालले बताए । सन् २०१८/१९ मा गरिएको एक अध्ययनले उपत्यकामा दैनिक १ करोड १४ लाख लिटर पानी दोहन भइरहेको देखाएको छ ।
‘उपत्यकामा भूमिगत पानीको दोहन भइरहेको छ र पानीको सतह पनि घट्दै गएको छ,’ उनले भने, ‘तर, कुन ठाउँमा कति मिटर पानी घटेको छ भन्ने जाँच नगरी भन्न सकिँदैन । कुनै ठाउँमा पानीको सतह जस्ताको तस्तै छ, केही ठाउँमा घटेको छ ।’ विभिन्न अध्ययनले भूमिगत पानीको सतह घटेको औंल्याए पनि किन घट्दै छ, के–कस्ता समस्या आउँछ, कसरी समाधान गर्ने भन्ने विषयमा बोर्डले अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए । ‘अबको अध्ययनले कुन ठाउँमा कति पानी घटेको छ, कस्ता समस्या आउँछन्, कसरी समाधान गर्ने सबै निष्कर्षसहित आउँछ,’ उनले भने ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पनि ८० वटा ट्युबवेल सञ्चालनमा छन् । उपत्यकामा मात्र पानीको दैनिक माग ४३ करोड लिटर छ । माग धान्नकै लागि पनि ट्युबवेलको सहारा पनि लिइरहेको केयूकेलले दैनिक १३ देखि १४ करोड लिटर पानी वितरण गरिरहेको छ । केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार वर्षायाममा ३० प्रतिशत र हिउँदमा ४५ प्रतिशत भूमिगत पानी दोहन गरी धारामा पुर्‍याइन्छ । केयूकेएलका बाहेक पनि उपत्यकाभरि थुप्रै ट्युबवेल प्रयोगमा रहेकाले दैनिक १ करोड १४ लाख लिटर भूमिगत पानीको दोहन भइरहेको छ । ट्युबवेललगायत कारणले काठमाडौंको जमिनमुनिको पानीको सतह क्रमशः घट्दै गएको भन्दै महानगरले ‘रिचार्ज काठमाडौं’ कार्यक्रम अघि सारेको थियो । आकाशेपानी संकलन गर्दै भूमिगत पानीको सतह सन्तुलन कायम गर्नका लागि निकै प्रभावकारी मानिन्छ । उपत्यकामा भूमिगत पानी तान्ने तर पुनर्भरण कहिल्यै नगर्ने भएकाले काठमाडौं महानगरपालिकाले योजना अघि सारेको ४ वर्ष भयो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल सुरुआतमै उक्त योजना अघि सारेका थिए । त्यही योजनाअनुसार बजेट
छुट्याए पनि महानगरले काम गर्न सकेको छैन ।
शाक्यको कार्यकाल अन्तिम वर्षसम्म आइपुग्दा गोंगबु आवास क्षेत्रभित्रको डबली र डबलीसँगैको नर्सरीमा मात्र यो प्रणाली जडान गरेर सञ्चालनमा ल्याइएको छ । शाक्यले गत शुक्रबार नक्सालस्थित नन्दीरात्रि विद्यालयमा आकाशेपानी संकलन तथा भूमिगत पानी पुर्नभरण प्रणाली निर्माण कार्यको शिलान्यास गरे । महानगरले यसअघि ०७६ फागुन ६ मा गोंगबु आवास क्षेत्रको डबली र डबलीसँगै रहेको नर्सरीमा नमुना पानी पुनर्भरण प्रणाली सुरु गरेको थियो । महानगरका अनुसार यी दुवै ठाउँमा प्रणाली जडान गर्न ५ लाख रुपैयाँ लागेको थियो ।
महानगरले उक्त कार्यक्रमअन्तर्गत बर्सेनि बजेट छुट्याउँछ । ०७४/७५ मा ८० लाख, ०७५/७६ मा ३० लाख, ०७६/७७ मा १५ लाख, ०७७/७८ मा २५ लाख र ०७८/७९ मा ५० लाख रुपैयाँ
छुट्याएको छ ।
बर्सेनि बजेट छुट्याए पनि महानगरमा पुनर्भरण केन्द्र एउटा मात्रै सञ्चालनमा छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने जल पुनर्भरण प्रक्रियाबारे समुदाय नै सचेत भएर कार्यक्रम माग गरेका सघाउने बताउँछन् । ‘हामीले ठाउँठाउँमा रिचार्ज प्वाइन्ट, पोखरी पुनर्निर्माण गरिरहेका छौं,’ उनले भने ।
महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले २०७६ साउनमा ‘रिचार्ज काठमाडौं’ अभियान आफ्नै घरबाट सुरु गरेका थिए । तर, अहिलेसम्म श्रेष्ठबाहेक महानगरका कति जना कर्मचारीले यी प्रणाली जडान गरे भन्ने तथ्यांक नभएको उनले बताए । उनले गुठी संस्थाको सहयोगमा २५/२५ गरी ५० हजार खर्चेर आकाशेपानी संकलन प्रणाली जडान गरेका थिए । ‘घर बनाउँदा नै आकाशेपानी संकलन गर्ने किसिमले बनाएकाले यो प्रणाली जडान गर्दा धेरै लागत लागेन,’ उनले भने, ‘बनाइसकेको घरमा
अब आकाशेपानी संकलनका लागि ठाउँ
बनाउने हो भने अनुमानित लागतभन्दा बढी लाग्न सक्छ ।’ विभागका अनुसार वडा–५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको छ । महानगरका अनुसार अब बन्ने हरेक पार्कमा आकाशे पानी संकलन तथा भूमिगत पानी पुनर्भरणका लागि निर्माण गरिनेछ । बजेटमा राखे पनि के–कसरी काम गर्ने भनेर छुट्याउन नसक्दा बजेट कागजमै सीमित भएको छ । ०७६ देखि महानगरको सहरी योजना आयोगले आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरणका लागि अवधारणा नै बनाएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । अवधारणा विकास भइसकेकाले अब काम हुने उनले बताए ।
भूमिगत पानी निकाल्ने र भूमिमा पानी नपठाउने अथवा पुर्नभरण नगरिएकाले पानीको मात्रा घट्दै गएको समेत विभिन्न अध्ययनले औंल्याएको छ । बोर्डका हाइड्रोजिओलोजिस्ट अनुज खनाल भन्छन्, ‘उपत्यकामा भूमिगत पानीको दोहान भइरहेको छ र पानीको सतह पनि घट्दै गएको छ । तर, कुन ठाउँमा कति मिटर पानी घटेको छ भन्न सकिँदैन । कुनै ठाउँमा पानीको सतह जस्ताको त्यस्तै छ तर केही ठाउँमा घटेको छ ।’ उपत्यकामा ठाउँअनुसार पानी घटबढ हुने भएकाले सरदर यति घटेको छ भनेर भन्न नसकिने उनले बताए । विभिन्न अध्ययनले भूमिगत पानीको सतह घटेको औंल्याए पनि किन घट्दै छ के–कस्ता समस्या आउँछ, कसरी समाधान गर्ने भन्ने विषयमा अध्ययन नभएकाले बोर्डले अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए । ‘अबको अध्ययनले कुन ठाउँमा कति पानी घटेको छ, कस्ता समस्या आउँछन्, कसरी
समाधान गर्ने सबै निष्कर्षसहित आउँछ,’ उनले भने । गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले गएका वर्षहरूमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने केयूकेएलका ट्युबवेलहरूमा अहिले प्रतिमिनेट ७ सय लिटर पानी मात्र आइरहेको बताए ।
त्यस्तै जलस्रोत विज्ञ अजय दीक्षित पनि अब हरेक मानिसले ट्युबवेलमार्फत पानी तान्ने र आकाशेपानी संकलन गरी भूमिलाई पुनर्भरण गर्नेतर्फ समयमै सबै पक्ष गम्भीर हुनुपर्ने बताए । ‘वर्षामा आकाशेपानी संकलन गरी भूमिमा पुनर्भरण गर्ने र हिउँदमा तानेर प्रयोग गर्नुपर्छ, तर, एकतर्फी पानी तान्ने काम मात्र पनि गर्नुहुँदैन,’ उनले भने, ‘अहिले हरेक घरमा ट्युबवेल हुन्छ, पानी तान्छन्, प्रयोग गर्छन् । तर भूमिगत पानी पुनर्भरण गर्दैनन् ।’

वाग्मती प्रदेश

कांग्रेस नेतृत्व चुन्न २ पटक मतदान

- कान्तिपुर संवाददाता


दोलखा/रामेछाप (कास)– कांग्रेस जिल्ला सभापति पदका लागि ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले पुर्‍याउन नसकेपछि दोलखामा सोमबार दोस्रो चरणमा निर्वाचन भएको छ । दोस्रो चरणको निर्वाचनबाट रामचन्द्र पौडेल समूहका उम्मेदवार बर्मा लामा सभापतिमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला पक्षका ताराकुमार खड्कालाई पराजित गरे । १३७३ मतमध्ये लामाले ८ सय ७७ प्राप्त गरे भने खड्काले ४ सय ८५ मत प्राप्त गरे ।
आइतबार त्रिपक्षीय प्रतिस्पर्धा भएकोमा लामाले धेरै मत प्राप्त गरे पनि ५१ प्रतिशत पुर्‍याउन सकेका थिएनन् । लामाले ६ सय ४३ मत प्राप्त गरेका थिए । खसेको १ हजार ५ सय ४५ मतमध्ये उनले ४३ प्रतिशत मत प्राप्त गरेका थिए । खड्काले ३ सय ९७ मत प्राप्त गरे ।
शेरबहादुर देउवा समूहको पकड रहेको मानिए पनि यसपल्ट यो समूहले तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । निवर्तमान जिल्ला सभापतिसमेत रहेका देउवा समूहका उम्मेदवार रुद्र बहादुरले ३ सय ५८ मत मात्रै पाउन सके । बहुमत पाउन नसकेपछि सोमबार पौडेल पक्ष र सिटौला पक्षका उम्मेदवारबीच पुनः सभापतिका लागि मतदान भएको हो ।
कांग्रेस रामेछापको सभापतिमा भने पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङ देउवा पक्षधर हुन् । आइतबार भएको निर्वाचनमा तामाङले ६ सय ६८ मत प्राप्त गरे । कुल सदर मत १ हजार ३ सय ५२ मध्ये उनका निकटतम प्रतिस्पर्धी लवश्री न्यौपानेले ३ सय ५६ तथा कृष्णबहादुर महतले ३ सय २८ मत पाए । न्यौपाने र महत दुवै रामचन्द्र पौडेल समूहका हुन् ।
कांग्रेसको विधानबमोजिम जिल्ला सभापति निर्वाचित हुन सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले निर्वाचन समितिले आइतबारको निर्वाचनमा उच्चतम मत प्राप्त गर्ने तामाङ र न्यौपानेबीच सोमबार मतदान गराउने कार्यक्रम सार्वजनिक गरेको थियो ।

वाग्मती प्रदेश

वन्यजन्तुबाट बाली जोगाउनै सकस

- कान्तिपुर संवाददाता


रसुवा (कास)– ‘बाँदर र भालुले भन्दा बँदेलले धेरै दुःख दियो । दिउँसो आउने बाँदरलाई त धपाउन सकिन्छ, राति बँदेललाई कसरी धपाउनु ? राति कतिखेर आएर बाली सखाप पार्छ थाहै पाइँदैन । पहिले ४–५ ठाउँमा खेती गरिन्थ्यो । अहिले एक ठाउँकै पनि जोगाउन गाह्रो परेको छ । सबै छोडिदियौँ । अन्नबाली त खाए–खाए अब घरमा आएर पनि दुःख दिन थाल्या छन्,’ गोसाइँकुण्ड गाउँपालिका खाम्जिङका डुक्तर तामाङले वन्यजन्तुका कारण खेपिरहेको हैरानी एक सासमै सुनाए ।
बँदेलको बिगबिगी सबैभन्दा धेरै भएको लाङटाङ उपत्यकामा किसानको बिजोग छ । बृदिमका ङवाङ तामाङले पनि घरभन्दा टाढाको जग्गामा खेतीपाती गर्न छोडिसकेका छन् । बँदेलले बाली सखाप पारिदिने भएकाले १४ रोपनी जग्गामध्ये अहिले ४ रोपनीमा मात्रै खेती गरिरहेका हुन् । ‘यहाँका धेरैजसो किसानको हाल मेरोजस्तै छ,’ उनले भने । बृदिमका किसानलाई बँदेलबाहेक बाँदर र दुम्सीबाट पनि बाली जोगाउने पिरलो छ ।
लाङटाङका बासिन्दाको जीविकाको अर्को माध्यम पर्यटन र चौरीपालन हो । कोरोना महामारीका कारण डेढ वर्षदेखि पर्यटक आवागमन ठप्प छ । ‘एकातिर जंगली जनावरले बाली सखाप पारिदिने, अर्कोतिर पर्यटक पनि नआउने, अहिले घरको आम्दानी केही छैन । छाक टार्नकै समस्या हुन थालेको छ,’ लाङटाङका फिन्जो तामाङले भने ।
वन्यजन्तुले बालीमा क्षति गरेमा र गाईबस्तु मारेमा राहत पाइन्छ भन्ने थाहा पाएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा राहतका लागि निवेदन दिने किसानको संख्यासमेत बढ्दै गएको छ । यसले पनि यस क्षेत्रमा वन्यजन्तुको कहर बढेको प्रस्ट हुन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा यी तीन जिल्लाका ३ सय ६७ जना किसानलाई वन्यजन्तुले क्षति पुर्‍याएबापत २१ लाख ९ हजार ६ सय ५५ रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् । उनका अनुसार सबैभन्दा धेरै (३५८ जना) बँदेलले बाली क्षति गरेबापत राहत लिएका छुन् । ‘चालु आवमा पनि यस्ता निवेदन परेका छन् । वन्यजन्तुले गाईबस्तु मारेको वा घाइते बनाएको भन्दा धेरै जंगली बँदेलले खेतीबाली बिगारेको दाबी किसानको छ,’ रानाले भनिन्, ‘यस वर्ष पनि राहत दिने तयारी भइरहेको छ ।’
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा बँदेल, भालु र चितुवाजस्ता वन्यजन्तुले मान्छे मारेमा, गाईबस्तु मारेमा, घरगोठ तथा घरमा राखेको अन्न र खेतबाली बिगारेमा राहत दिने व्यवस्था छ । जसअनुसार वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएका मृतकको परिवारलाई १० लाखसम्म, सख्त घाइतेलाई २ लाखसम्म र सामान्य घाइतेलाई २० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् । तर यस्तो राहत लिन पनि अनेक झमेला रहेको पीडितको गुनासो छ । ‘निकुञ्जले दिने राहत लिन धेरै झन्झट बेहोर्नुपर्छ,’ बृदिमका ङवाङ तामाङले भने ।

वाग्मती प्रदेश

महिला बन्धक बनाएको आरोपमा २ पक्राउ

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि–६ का ३७ वर्षीय धिरोज श्रेष्ठ र चाँगुनारायण–१ सरस्वतीखेलकी २९ वर्षीया रसिला अवाल छन् । उनीहरूविरुद्ध चन्द्रागिरि–३ थानकोटकी एक महिलालाई डरत्रास देखाई बन्धक बनाएको आरोप छ । महानगरीय अपराध महाशाखाले पीडित महिलालाई बन्धक बनाई राखेको रसिलाको घरबाटै उद्धार गरेको हो । लेनदेनको विषयमा विवाद हुँदा महिलालाई बन्धक बनाएको खुलेको महाशाखा प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले बताए । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

वाग्मती प्रदेश

रेलिङमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

- कान्तिपुर संवाददाता


भक्तपुर (कास)– मध्यपुर थिमि–३ कौशलटारस्थित सडकको रेलिङमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार राति भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना३२प ६६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएको हो । मृत्यु हुनेमा पर्सा वीरगन्ज–२० घर भई भक्तपुर बस्ने ३० वर्षीय लोकनाथ ठाकुर छन् । घाइते ठाकुरको उपचारका क्रममा भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार वीरगन्ज घर भई इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर रौतहटमा कार्यरत प्रहरी हवल्दार सियाराम सिंह घाइते भएका छन् ।

वाग्मती प्रदेश

३ दिनपछि खुल्यो यातायात

- कान्तिपुर संवाददाता


नुवाकोट (कास)– तीन दिनपछि नुवाकोट र रसुवामा सार्वजनिक यातायात सञ्चालन भएका छन् । मंगलबार यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएपछि यातायात सञ्चालन गरिएको हो । वाग्मती प्रदेश सरकारलाई जिल्लाका सबै जनप्रतिनिधि तथा राजनीतिक दल, स्थानीय प्रशासनलगायत सरोकारवालाले भाडासम्बन्धी चाँडो न्यायोचित सम्बोधन गर्न आवश्यक पहल गर्ने सहमति भएको पासाङ ल्हामु बस व्यवसायी समितिका अध्यक्ष कुलबहादुर खड्गीले बताए । भाडादर बढाउनुपर्ने माग गर्दै पासाङ ल्हामु, केरुङ, टिमुरे, माइक्रोबस व्यवसायीहरूले आइतबारदेखि सार्वजनिक यातायात बन्द गराएका थिए ।

वाग्मती प्रदेश

हत्याको आरोपमा पक्राउ

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मोरङ विराटनगर घर भई बूढानीलकण्ठ नगरपालिका–८ भंगाल बस्ने ३० वर्षीय राज खड्काको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ घर भई बूढानीलकण्ठ बस्ने ३५ वर्षीय प्रदीप लिम्बू छन् । लिम्बूले खड्कालाई सोमबार चक्कु प्रहार गरी घाइते बनाएको र उपचारका क्रममा करुणा अस्पताल चुनिखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश

जनगणनामा छुटेकालाई मौका

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवार सूचीकरणमा छुटेकालाई पुनः मौका दिएको छ । त्यसका निम्ति विभागको टोल फ्रि नम्बर वा वेबसाइटमा आफ्नो घर ठेगाना दिन विभागले भनेको छ । गत भदौ ३० गते सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्य सोमबार सकिएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘यस चरणमा कुनै परिवार छुटेको भए विभागको टोल फ्रि नम्बर ११७८ मा फोन गर्न वा वेबसाइटको लिंक प्रयोग गरी आफ्नो घरठेगानाको जानकारी दिन’ अनुरोध गरेको हो । आगामी कात्तिक २५–मंसिर ९ मा सम्पन्न हुने मूल जनगणनामा सबैको सहभागिताका निम्तिसमेत विभागले आह्वान गरेको छ ।

वाग्मती प्रदेश

प्रकृति कोष अध्यक्षमा कार्की

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा डा. माधवबहादुर कार्कीलाई नियुक्त गरेको छ । प्राकृतिक स्रोत र वातावरण विषयमा विज्ञ कार्कीले बुधबार पदभार ग्रहण गर्दै छन् । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारबाट नियुक्त डा. कृष्णप्रसाद ओलीलाई हटाएर कार्कीलाई अध्यक्ष नियुक्त गरेको हो । कार्कीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा उपमहानिर्देशकका रूपमा समेत काम गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री तथा एनटीएनसीका संरक्षक शेरबहादुर देउवाको प्रस्तावमा उनलाई अध्यक्ष नियुक्त गरिएको हो । विगतमा वन तथा वातावरणमन्त्री नै एनटीएनसीको अध्यक्ष रहने व्यवस्था भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रहेका प्रेमबहादुर आलेलाई त्यो जिम्मेवारी दिएका थिएनन् । ओलीले नाताले काका पर्ने कृष्णप्रसाद ओलीलाई अध्यक्ष बनाएका थिए ।
कोषमा वन तथा वातावरण सचिव डा.पेमनारायण कँडेल, पर्यटन सचिव यादवप्रसाद कोइराला, अर्थसचिव मधुकुमार मरासिनीसहित शम्भुप्रसाद दंगाल, शुभनारायण महतो, डा.विजयकुमार सिंह दनुवार, मीनाकुमारी न्यौपाने, स्वाती थापा र रेखा घिमिरे तथा दुई विदेशी नागरिक सदस्य छन् ।

Page 7
समाचार

वामदेव : चन्द्रागिरि न गोदावरी

- मणि दाहाल

(काठमाडौं) - एमालेको नवौं महाधिवेशनमा कसलाई अध्यक्ष बनाउने भन्ने भूमिकामा वामदेव गौतम करिबकरिब ‘किङमेकर’ जस्तै थिए । उनले जसको पक्ष लियो, त्यो महाधिवेशनमा नेतृत्वमा आउन सक्थ्यो । त्यसैले गौतमको महत्व धेरै थियो । उनले केपी शर्मा ओलीको पक्ष लिए, ओलीले जिते ।
गौतम केही समय उनलाई बोकेर हिँडे । अहिले एमाले दसौं महाधिवेशनको तयारीमा छ । गौतमसमेतले पास गरेको नीतिका आधारमा एमालेले हालै विधान महाधिवेशन पनि सम्पन्न गरेको छ । तर यी दृश्यमा गौतम कहीं कतै छैनन् । नयाँ दल दर्ताका लागि सनाखत गर्न भदौ ९ मा निर्वाचन आयोगमा जानुअघि माधव नेपाल नेतृत्वमा चन्द्रागिरिमा भएको भेलामा गौतम देखिएनन् । यता असोज १५ मा केपी शर्मा ओली नेतृत्वमा गोदावरीमा भएको विधान महाधिवेशनमा पनि उनी झुल्किएनन् । त्यसैले उनको राजनीतिक जीवन अस्ताएको हो त भन्ने स्वाभाविक प्रश्न उठेको छ ।
कुनै बेला पार्टी र राजकीय सत्ताका खेलहरूमा मुख्य भूमिकामा देखिने गौतम अहिले गुमनाम छन् । अध्यक्ष ओलीको कार्यशैलीमाथि गम्भीर असहमति जनाउँदै एमाले छाडेका उनी दलविहीन छन् । एमालेमा उपाध्यक्षबाट राजिनामा दिएपछि गौतम माधवकुमार नेपालको नेतृत्वको नेकपा (एस) मा जाने अनुमान गरिएको थियो । तर नेकपा (एस)ले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गनिर्देशक सिद्धान्त नमानेको भन्दै उनी त्यसमा सहभागी हुन हिच्किएका छन् ।
निकटका पूर्वमन्त्री हरि पराजुलीका अनुसार गौतमको अधिकांश समय अहिले भेटघाट र लेखपढमा बित्ने गरेको छ । ‘अहिले केही गर्नु भएको छैन । घरमै बस्नु भएको छ, लेखपढ गर्नुहुन्छ,’ पराजुलीले भने । राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका गौतमका निकट नेताहरू अहिले छिन्नभिन्न भइसकेका छन् । पराजुली आफैं पनि नेकपा (एस) तर्फ लागेका छन् । गौतम निकटका केशवलाल श्रेष्ठ नेकपा एसका उपाध्यक्ष भएका छन् भने बलराम बाँस्कोटा, सावित्रा भुसालहरू केन्द्रीय सदस्य बनेका छन् । यमलाल कँडेल, किरण गुरुङ भने नेकपा एमालेमै छन् ।
‘गौतमको अवस्था अहिले रामचन्द्र बनवास जाँदाको जस्तो भएको छ । आधा दायाँ र आधा बायाँबाट जाऊ भन्दा रामचन्द्र एक्लै बनेका थिए,’ नेकपा एमाले स्थायी कमिटीका एक सदस्यले भने, ‘राजनीतिमा पनि गौतमको अवस्थामा त्यस्तै छ । आधा एमालेमा छन् र बाँकी आधा नेकपा एसतर्फ लागेका छन् ।’

अस्थिरताले खस्केको साख
२०७४ सालको आम निर्वाचमा बर्दिया १ बाट पराजित भएपछि राजनीतिक रूपमा अप्ठेरोमा परेका गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादमा खेलेको भूमिकाले उनको साख समाप्त पारेको थियो ।
ढुलमुले चरित्रले गौतमको हक्की स्वभाव र आफूलाई लागेको कुरामा दृढतापूर्वक लाग्ने छवीलाई धुमिल बनायो । नेकपा अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध सबैभन्दा पहिलो लिखित दस्तावेज ल्याउँदै एक पद
छाड्नु पर्ने प्रस्ताव गरे । गौतमले पार्टीभित्रको अन्तरसंघर्ष उत्कर्ष पुगेको समयमा निरन्तर गुट फेरबदल गरिरहे ।
प्रधानमन्त्री बन्ने गौतमको उत्कण्ठालाई नेकपाका शीर्ष नेताहरूले आफ्नो पक्षमा पार्न सक्दो उपयोग गरे । नेकपाको नौ सदस्यीय शक्तिशाली सचिवालयमा गौतम जता लाग्थे, त्यतै बहुमत पुग्ने अवस्था थियो ।
संविधानमै प्रतिनिधिसभा सदस्यले मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था भएको कारण गौतमले आफू
निकट सांसदलाई राजीनामा गराएर उपनिर्वाचिनमार्फत प्रतिनिधि सभामा आउन कोसिस गरे । डोल्पा, बाँके, पाल्पा, कास्की हुँदै काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित सांसदलाई राजीनामा दिएर गौतम उपनिर्वाचनमार्फत चुनिन खोजेका थिए ।
गौतमले भने स्थानीय चुनावको समयमा विपक्षी दल कांग्रेसभन्दा निकै ठूलो मतान्तर रहेको बर्दियाको चुनावमा साढे सात सय मत अन्तरमा भएको हारलाई आफ्नो पराजय नभई अन्तरघात भएको बताउने गरेका थिए । तत्कालीन नेकपा एमालेको शीर्ष नेतृत्वबाट आफूलाई हराउन प्रयास भएको भन्दै गौतमले पटक पटक छानबिनको माग गरेका थिए । गौतमको माग कहिले पनि पुरा भएन ।
उपनिर्वाचनको निर्वाचन पनि सुरक्षित हुने नदेखेपछि गौतमले राष्ट्रिय सभा सांसद बन्ने र संविधान संशोधन गराएर प्रधानमन्त्री हुने जुक्तिमा लागेका थिए । ती सबै प्रयास कार्यान्वयन हुन सकेनन् । गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने विज्ञ र समाजका प्रतिष्ठित व्यक्तिहरूका लागि छुट्याएको कोटाबाट राष्ट्रियसभाका सांसद बने । तर तत्कालीन नेकपाभित्र गौतमको मनोनयनको विषय पनि निकै बिबादमा परेको थियो । यो विषय सर्वोच्च अदालतसम्म पुग्यो र त्यो अहिले विचाराधिन छ ।
लामो समय राजनीतिक सहकार्य गरेका नेकपा मालेका महासचिव सीपी मैनालीले अस्थिर चरित्रले गौतम अहिलेको अवस्थामा आइपुगेको बताउँछन् ।
‘गौतम अस्थिर हुन्, सत्ताका र स्रोत साधनका लोभी हुन्, यो कमजोरी हो,’ गौतमसँग २०३४ सालदेखि संगत गरेका मैनालीले भने, ‘मार्क्सवादको गहिरो जानकारी छैन । सतही प्रकारको जानकारी छ । अहिले सबै कुरा सत्ता हो भनेर हिँड्नुभएको छ । जता फाइदा हुन्छ उतै जानुहुन्छ ।’
मैनालीका अनुसार स्पष्ट भिजन नभएको र सत्ता नै सबै हो भनेर लाग्ने गरेका कारण गौतमलाई अरूले सहजै ठग्छन् । ‘निश्चित भिजन छैन । त्यसैले यता जाउँ कि उता जाउँ भन्ने परिरहन्छ । ट्रायल एन्ड इररको अभ्यासमा जाँदा उनलाई कसैले पनि नपत्याउने अवस्थामा पुर्‍यायो,’ उनले भने ।
गौतम मनमा लागेको कुरा खुल्ला रूपमा राख्छन् । ‘नराम्रो लागेको छ भने पनि खत्तमै पारेर छाड्ने हुन् । अरूलाई नराम्रो लागेको तर उनलाई लागेको छ भने त्यसलाई पनि पूर्णरूपमा बोकेर हिँड्छन्,’ मैनालीले भने, ‘विश्वास गलत होस वा सही उनलाई लागेपछि त्यसलाई अन्तिम समयसम्म बोक्छन् ।’
महाकाली सन्धिको विषयमा एमालेमा मतभेद चुलिएपछि गौतम र मैनालीले नेकपा एमाले विभाजन गर्दै नेकपा माले गठन गरेका थिए । २०५६ सालको आमनिर्वाचनमा नेकपा मालेले एक सिट पनि जित्न नसकेपछि गौतम आफू निकटका नेताहरू साथमा लिएर २०५८ सालमा एमालेमा फर्किए । तर मैनाली भने नेकपा मालेकै नेतृत्व गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सञ्चालन गरेको सरकारको सबैभन्दा पहिले गौतमले आलोचना गर्दै लिखित प्रस्ताव ल्याएका थिए । तर गौतम त्यसमा अडिन सकेनन् । नेकपाभित्र रहँदा गौतम कहिले ओली, कहिले पुष्पकमल दाहाल र माधवकुमार नेपालको खेमामा यताउता गरिरहे । संवैधानिक रूपमा असम्भव नै रहेको राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था मिलाउन उनी लामो समय कोसिसमा रहे । विवाद चर्किंदै गएको समयमा प्रधानमन्त्री ओलीको प्रधानमन्त्री बनाइदिने आश्वासनलाई सहज रुपमा विश्वास गरे । सचिवालयका बहुमत सदस्यहरूको समर्थन भन्दै गत कात्तिकमा दाहालले ओलीमाथि लगाएको आरोप पत्रमा गौतमको पनि समर्थन थियो । तर पछि अन्तरसंघर्ष चर्किएपछि गौतम दाहालको पक्षमा पनि खुलेनन् । नेकपा एकीकरण गर्ने भन्दै राष्ट्रिय अभियान घोषणा गरे । घोषणापत्र जारी गरेर कमिटी निर्माणमा जुटे । तर त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन । नेकपापछि एमाले पनि विभाजन भयो, गौतमको उद्देश्य पनि फेरियो । पछि उनले एमाले एक बनाउने
घोषणा गरे । तर अहिले त्यो अभियान छिन्नभिन्न मात्र भएन उनी आफैले पार्टी छोडेर अहिले गुप्तवासमा छन् ।
उनीनिकट स्रोतका अनुसार छोरा हरिश गौतम नेकपा (एस)का लाग्नुपर्ने पक्षमा छन् । पत्नी तुलसा थापा भने एमाले छाड्न नहुने पक्षमा छिन् । किनकी एमाले छाड्दा थापाको पद जान्छ । अहिले पनि उनी प्रतिनिधिसभामा एमाले सांसद हुन् । पछिल्लो समय ओलीलाई शक्तिशाली बनाउने प्रस्ताव आएपछि गौतम स्थायी कमिटीको बैठक छाडेर हिँडे । अध्यक्ष ओलीको
कार्यशैलीको स्वेच्छाचारी भएको आरोप लगाउँदै राजिनामा दिए ।
त्यसपछि सार्वजनिक कार्यक्रममा नदेखिएका उनले भेट्न आउने नेताहरूलाई नयाँ दल खोल्ने बताउने गरेका छन् । ‘अभियान अहिले छिन्नभिन्न अवस्थामा छ । गौतमले एमालेमा ओलीको कारण बस्न नसक्ने र नेकपा (एस)मा नजाने बताउनु भएको थियो,’ अभियानको केन्द्रीय सदस्य रहेकी इन्दिरा पन्तले भनिन्, ‘पछिल्लो भेटमा आफै दल खोल्ने बताउनु भएको थियो ।’ अहिले गौतमका लागि एमाले फेरि फर्केर नेता बन्नका लागि ७० बर्षको छेकबार लागिसकेको छ । नेकपा एसमा जानका लागि उनले भन्दै आएको जबज उक्त पार्टीले मान्ने हो कि होइन भन्ने अन्योल छ । गौतम चुपचाप बसेका छन् ।

समाचार

गोरखाका उत्तरी नाका खोल्न माग

- कान्तिपुर संवाददाता


गोरखा (कास)– खाद्यान्न अभाव बढेपछि उत्तरी गोरखाको चुम्चेत र छेकम्पारवासीले उत्तरी नाका खुलाउन माग गरेका छन् । कोरोना जोखिम बढेसँगै उत्तरी दुई चिनियाँ नाका दुई वर्षदेखि बन्द छन् । चुमभ्याली हुँदै जाने छेकम्पारको ङुइला भञ्ज्याङ र चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित रुइला नाका खोल्न चुमनुब्रीका स्थानीयले माग गरेका हुन् ।
कोरोना जोखिमअघि दैनिक उपभोग्य सामग्री खरिदका लागि स्थानीय तिब्बतको बजारसम्म पुग्थे । चुम्चेत र छेकम्पार पुग्ने लोक्पामा निरन्तर पहिरो झरेकाले तत्काल बाटो खुलाउन सम्भव नदेखिएपछि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसमक्ष नाका खोल्न पहल गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । ‘सधैं हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न सम्भव छैन, नाका खुलिदियो भने तत्कालका लागि तिब्बतको बजारबाट खाद्यान्न ल्याउन सहज हुन्थ्यो,’ उनले भने ।
भदौ १ बाट खसेको चुम्चेतको लोक्पास्थित डुयुखोलाको पहिरो नरोकिएकाले सदरमुकामसम्म आउजाउ गर्न सक्ने अवस्था छैन । लोक्पाको पहिरोले झोलुङ्गे पुल पनि चुँडाइदिएको छ । लोक्पा पहिरोबाट एक किलोमिटर माथिको सर्दिभीरस्थित क्यान्टिलिभर पुलमा पनि भदौ पहिलो साताको पहिरोले क्षति पुर्‍याएको छ । ‘वैकल्पिक बाटो खोल्ने ठाउँ छैन,’ अधिकृत श्रेष्ठले भने, ‘पैदलमार्गको पहिरो झन्झन् बढेको छ, पहिरो र ढुंगा निरन्तर खसिरहँदा बाटै ठप्प बन्यो ।’ हाल अत्यावश्यक कामका लागि उत्तरी गोरखाबाट सदरमुकामलगायत सहर झर्नेहरू हेलिकोप्टरमार्फत आउने गरेका छन् ।
खाद्यान्न ढुवानी ठप्प भएपछि दुई वडाका ६ सय घरमा समस्या भएको र जनजीवन अस्तव्यस्त वनेको गाउँपालिकाले प्रशासनलाई लेखेको पत्रमा छ । लोक्पाको गोरेटो, घोडेटो तत्काल सञ्चालन गर्ने कुनै सम्भावना नरहेकाले आवश्यक खाद्यान्न तथा अन्य सामग्री ढुवानीका लागि दुई नाका सञ्चालनको पहल गर्न गाउँपालिकाले पत्रमा उल्लेख गरेको छ । डेढ महिनादेखि खाद्यान्न ढुवानी ठप्प बनेपछि चुम्चेत र छेकम्पारमा ९३.३० क्विन्टल चामल नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी भएको छ । गाउँपालिकाले ६ सय घरका लागि प्रतिपरिवार एक बोरा (३० केजी) पुग्ने गरी थप १८० क्विन्टल चामल ढुवानीका लागि हेलिकोप्टर व्यवस्थापनको माग गरेको छ ।
उत्तरी गोरखाका लागि सहुलियत दरमा चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो गाउँपालिकाको केन्द्र सिर्दिबासमा छ । सिर्दिवास र चुम्चेत छेकम्पारबीचको लोक्पामा निरन्तर पहिरो खस्दा खाद्यको चामलसमेत ढुवानी हुन सकेको छैन ।

Page 8
सम्पादकीय

राजनीतिक नेतृत्वतिर सोझिएको सवाल

- कान्तिपुर संवाददाता


मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको समाचारप्रति प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतले आपत्ति जनाएसँगै यो मामिलालाई थप प्रस्ट पार्नुपर्ने दायित्व सरकारमा रहेका जिम्मेवार राजनीतिक नेतृत्वसामु आइपरेको छ । किनभने प्रधानन्यायाधीशले आफ्ना मान्छेलाई मन्त्री बनाउन माग राखेको सूचना अन्यत्रबाट नभएर सत्तारूढ राजनीतिक वृत्तबाटै बाहिरिएको हो । प्रधानन्यायाधीश र सर्वोच्चले खण्डन गरे पनि यदि यो सूचना सत्य नै हो भने यसले हाम्रो संवैधानिक मान्यता तथा संसदीय लोकतान्त्रिक पद्धतिलाई नै धराशायी तुल्याउनेछ≤ शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तलाई लत्याउनेबित्तिकै व्यवस्था नै विघटनोन्मुख हुनेछ । यस्तै, यदि यो सूचना गलत रहेछ र राजनीतिक तहबाट कुनै नियतवश चुहाइएको रहेछ भने यसबाट सम्मानित न्यायालयको आम छवि अनाहकमा धमिलिनेछ । त्यसैले सरकारको नेतृत्वले एउटा त, यसबारे सत्य–तथ्य बाहिर ल्याउनुपर्नेछ भने अर्को, विशुद्ध गैरराजनीतिक शक्तिमा जस्केलाबाट मन्त्री बन्ने–बनाउने आकांक्षा पैदा नै हुन नदिने अठोट गर्नुपर्नेछ ।
हाम्रो संविधानले मूलतः संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बन्न नपाउने कल्पना गरेको छ । संविधानको धारा ७८ बमोजिम ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्ति गर्न सक्ने’ भए पनि त्यस्तो व्यक्तिले पदको शपथ लिएको छ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गरिसक्नुपर्नेछ । उक्त अवधिभित्र यस्तो सदस्यता प्राप्त गर्न नसकेमा उक्त व्यक्ति तत्काल कायम प्रतिनिधिसभाको कार्यकालभरि पुनः मन्त्री हुन योग्य हुने छैन । यति मात्र होइन, प्रतिनिधिसभामा पराजित व्यक्ति पनि प्रतिनिधिसभाको उक्त कार्यकालभर मन्त्री हुन पाउँदैन । यसको अर्थ मन्त्रिपरिषद्मा गैरसांसदहरू उपस्थित नहोऊन् र जनअनुमोदित नभएका व्यक्तिहरू मन्त्री नबनून् भन्ने नै हो । सांसदहरू मन्त्री बन्दा त्यसले हाम्रो निर्वाचन प्रणालीलाई खर्चिलो बनाएको तर्क पनि सुन्ने गरिन्छ, त्यो बेग्लै बहसको विषय हो । मन्त्रिपरिषद् सदस्य बन्न सांसद हुनुपर्ने अहिलेको संवैधानिक व्यवस्थाले मन्त्रीहरूलाई प्रधानमन्त्रीका अतिरिक्त संघीय संसद्मार्फत जनताप्रति उत्तरदायी बनाउन खोजेको हो । यो संवैधानिक मर्मको पालनाका निम्ति प्रधानमन्त्रीले
अबको मन्त्रिपरिषद् विस्तारमा कसैलाई ‘कोटा’ पुर्‍याउने गरी कुनै पनि गैरसांसदलाई समेट्ने गल्ती गर्नु हुँदैन ।
मन्त्रिपरिषद्मा लैजानुपर्ने कोही राजनीतिक व्यक्ति संघीय सांसद
नरहेको अवस्थामा मात्रै संविधानको धारा ७८ आकर्षित हुने हो । अर्को, मन्त्रिपरिषद्लाई प्रभावकारी बनाउनका निम्ति कुनै मन्त्रालयको नेतृत्व विषयविज्ञलाई दिँदा पनि यो धारा प्रयोग हुन सक्छ । विषयविज्ञकै हकमा पनि ‘शाही शासन’ र तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद्मा बाहेक राजनीतिसँग कुनै साइनो नभएकालाई मन्त्री बनाइएको पाइँदैन । चाहे राजनीतिक व्यक्तिलाई होस् या विषयविज्ञलाई, यो बाटोबाट मन्त्री बनाउने भनेको विशेष अवस्थामा मात्रै हो । त्यसैले संविधानले उपलब्ध गराएको सानो छिद्रको प्रयोग गरी जो–कोहीलाई मन्त्री बनाउने बारेमा मुलुकको कार्यकारी नेतृत्वले सोच्नु पनि हुन्न । प्रधानमन्त्रीले जो–कोहीलाई मन्त्री नबनाउने अठोट गरेमा सत्य–गलत जे भए पनि यस्ता आशंकाहरू उठ्दै उठ्दैनन् । कुनै पनि सरकारले यस्तो भूल नगर्ने हो भने भोलिका दिनमा समेत यस्तो प्रयत्न कसैले गर्न सक्नेछैन ।
त्यसो त, न्यायालयलाई अनावश्यक विवादमा नतान्न राजनीतिक नेतृत्वको जति भूमिका हुन्छ, त्यति नै दायित्व न्यायालय र न्यायाधीशहरूको पनि हुन्छ । न्यायालयको सर्वोच्च पदाधिकारीका हैसियतले सबैभन्दा बढी यस्तो दायित्व प्रधानन्यायाधीशकै हुन्छ । यसअघिका कतिपय सन्दर्भमा जस्तै वर्तमान प्रधानन्यायाधीशको नेतृत्वमा पनि न्यायालयले केही युगीन फैसला सुनाएको छ । सरकारका केही असंवैधानिक कदमहरूलाई सच्याएर सर्वोच्चले मुलुकको संविधान र शासन व्यवस्थाको रक्षा गरेको छ । यति हुँदाहुँदै पनि विडम्बनापूर्ण भन्नुपर्छ— अहिले मात्र होइन, प्रधानन्यायाधीश जबरामाथि यसअघि पनि केही जबर्जस्त प्रश्नहरू उठेका छन् । पूर्ववर्ती केपी ओली सरकारले संविधानको मर्मविपरीत अध्यादेश ल्याएर त्यसैको आडमा संवैधानिक निकायका पदाधिकारीहरू सिफारिस गरी नियुक्ति दिलाउँदा त्यसको साक्षी बसेकोमात्र होइन, उक्त नियुक्तिमा हिस्सा लिएको आरोप उनीमाथि लागेको छ । उदेकलाग्दो त, अदालतमा परेका यससम्बन्धी
मुद्दाको सुनुवाइमा गरिएको अनावश्यक बियाँलोले त्यही आरोपलाई नै
बल पुर्‍याएको छ । यस्ता परिस्थितिहरूमाझ अहिले आएर फेरि मन्त्रिपरिषद् विस्तारमा समेत प्रधानन्यायाधीशले ‘भाग खोजेको’ चर्चाले ठूलो आकार
लिन पुगेको हो । त्यसैले प्रधानन्यायाधीश स्वयंले आफ्नो व्यवहारबाटै संवैधानिक परिधिबाहिर गएर आफूले कुनै भाग नखोजेको प्रस्ट पार्न नितान्त आवश्यक छ ।
सत्य के हो भने, न्यायमूर्तिहरूले आफूमाथि प्रश्न उठ्ने कुनै पनि ठाउँ नछाड्ने हो भने उनीहरूमाथि गम्भीर आक्षेप लाग्नै सक्दैन । लागिहाले पनि सम्पूर्ण सरोकारवालालगायत आम तहले त्यसलाई सहजै स्विकार्दैन, प्रथम–श्रवणमै त्यसलाई खारेज गरिदिन्छ । त्यसैले न्यायालयको विवेकी नेतृत्वले देशमा सदैव यस्तो वातावरण कायम राख्नुपर्छ, यो पक्षमा प्रधानन्यायाधीश जबराले उचित विचार पुर्‍याउनुपर्छ । न्यायालयको नेतृत्व र कार्यपालिका दुवैले आफ्ना गतिविधिमा उचित होस पुर्‍याएमा मात्रै न्यायपालिका र लोकतन्त्रको गरिमा अनि संविधानको साख जोगिन सक्छ ।

सम्पादकलाई चिठी

भीडभाडबाट सुरक्षित रहौं

- कान्तिपुर संवाददाता


दसैं नजिकिँदै छ । बजारमा दसैंका लागि सामग्रीहरू किन्नेहरूको चहलपहल एवं घुइँचो बढिरहेको छ । यस्तो भीडभाड देख्दा मानिसमा कोरोनाको डर हराइसकेझैं लाग्छ । कोरोनाविरुद्धको खोप लगाएकाले डर हराएको होला भनुँ भने सबैले लगाउन पाएका पनि छैनन् । अनि ‘खोप लगायौ’ भन्दैमा सबै सुरक्षित छन् भनेर ढुक्क हुन पनि सकिन्न । फेरि १८ वर्ष उमेरमुनिकाहरूलाई खोप मुलुकमा नआइसकेको अवस्थामा अझै निकै सतर्कता अपनाउनु अति जरुरी छ । भीडमा सबैले मास्क पनि लगाएका हुँदैनन्, स्वास्थ्यको मापदण्ड अपनाउनु त परै जाओस् । यस्तोमा कोरोना संक्रमण फैलिने डर ज्यादा हुन्छ । सरकारले पनि भीडभाड नगर्न, सभा–समारोह सम्मेलन आदि नगर्न
आह्वान गरिसकेको छ । तैपनि जनता अटेरी भई भीडभाड गरिरहेका नै छन् । अब आफैं सुरक्षित हुनुबाहेक अरू विकल्प नै छैन । यसर्थ आफू र आफ्नो परिवारलाई सुरक्षित बनाऔं ।
– अच्युतमानसिंह प्रधान, बालुवाटार, काठमाडौं

सम्पादकलाई चिठी

साह्रै लाजमर्दो भइसक्यो

- कान्तिपुर संवाददाता


शेरबहादुर देउवा सरकार गठन भएको तीन महिना
पुग्न लाग्दा पनि पूर्णता पाउन सकेको छैन ।
हामी राजनीतिक निकास दिन्छौं भनेर गठबन्धन
बनाउने तर मन्त्रिमण्डल नै बनाउन नसक्ने ? हिजो नेकपा समाजवादीका कारण सरकार विस्तार भएन भनियो । अब त्यो समस्या पनि समाधान भइसक्यो, के कारण सरकार विस्तार भएन ? मन्त्रिमण्डल विस्तार गठबन्धनमा सामेल सबै दलका शीर्ष
नेतृत्वको दायित्व होइन यो ? यस्तो काम गरेर जनभावना माथि खेलवाड गर्न पाइँदैन । सरकार विस्तार नहुँदा अन्तर्राष्ट्रियस्तरमा पनि देशको छवि धमिलिएको छ । नेताहरूमा जिम्मेवारीबोध नहुँदा यस्तो भएको हो । सरकारले पूर्णता नपाउँदा मन्त्रालयको काम अघि बढ्न सकेको छैन, यसले जनताको प्रत्यक्ष सरोकारका विषयहरू छायामा परेका छन् । गठबन्धन सरकार केका लागि बन्यो ? देशलाई राजनीति निकास दिन कि मन्त्री पद पाउन ? केपी शर्मा ओली सरकार हटाउन मात्र गठबन्धनको सरकार बनेको भए केही भन्नु छैन । होइन भने, इमानदारीका साथ सरकार विस्तार गर्नुपर्‍यो । साह्रै लाजमर्दो भइसक्यो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी काठमाडौं

सम्पादकलाई चिठी

कुपोषणको ‘महामारी’

- कान्तिपुर संवाददाता


‘बर्सेनि अर्बौं लगानी तर कुपोषण समस्या उस्तै’ समाचारले निराश बनायो । सुदूरपश्चिमको बझाङ र तराईको रौतहटमा देखिएका जस्ता कुपोषणका बिरामी, नेपालका दुर्गम भेगतिर टन्नै छन् । मानव शरीरको विकास खानपानमा निर्भर रहन्छ, उचित खानपान र व्यवहारमा ध्यान दिन नसकिए नेपालीको कुपोषण, बालबालिकाबाट किशोरावस्था मात्र नभई पुस्तैनी हस्तान्तरण हुन्छ । शारीरिक रूपमा कमजोर गर्भवतीले सानो र कम तौल भएका शिशु जन्माइरहेका छन् । सरकारले बहुक्षेत्रीय पोषण योजनाका नाममा ठूलो रकम लगानी गरेको छ, कुपोषणको अवस्था न्यून गराउन थुप्रै गैरसरकारी संस्था कार्यरत छन् । तर, राज्यमा कुपोषण हुन नदिने खाद्य सुरक्षा, स्वास्थ्य शिक्षा, सरसफाइजस्ता क्षेत्रमा फिटिक्कै काम भएको छैन, बजारमा पाइने पत्रु खानेकुरा र त्यसका बेफाइदाबारे जनचेतना फैलाउन सकिएको छैन । फलस्वरूप, कुपोषणको अवस्था ज्युँका त्युँ रहेको सरकारी तथ्यांकले प्रस्ट्याएको छ भने संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको अध्ययनअनुसार कोभिड महामारीले नेपालका बालबालिकामा गम्भीर समस्या उत्पन्न गराएको र भविष्यमा समेत यो स्थिति अझ बढ्ने जनाएको छ ।
एक दशक अघिदेखि नेपालका आमा तथा शिशुमा दीर्घ कुपोषण न्यूनीकरण गर्न विभिन्न बहुक्षेत्रीय खाद्य तथा पोषण योजना तथा कार्यक्रम सुरु गरिए । त्यसमा पनि गर्भावस्थाको पहिलो दिनदेखि बालबालिकाको दुई वर्षसम्म ‘सुनौला हजार दिन’ को कल्पनामा सुआहारा कार्यक्रम परिचालन गरियो तर पोषण अवस्था झन् खस्कँदो छ । नेपालका आमा र शिशुको पोषण अवस्था सुध्रेको प्रतिवेदन पेस गरे पनि कार्यक्रम लागू गरेका ९० प्रतिशत जिल्लाका आमा तथा शिशुको पोषणस्तर दयनीय मात्र नभई कहालीलाग्दो छ ।
संयुक्त राष्ट्रसंघीय बालकोषको सन् १९९० मा प्रकाशन गरेको कुपोषणको संरचनात्मक अवधारणामा अपर्याप्त आहार, कडा रोग, घरायसी खाद्य असुरक्षा, सन्तुलित खानाको अभ्यास नहुनु, परम्परा, सांस्कृतिक प्रथा, राजनीतिक तथा आर्थिक पक्षका कारण कुपोषण हुन्छ । संयुक्त राष्ट्र महासभाको सन् १९७४ मा जारी गरेको भोकमरी र कुपोषणसम्बन्धी विश्वव्यापी घोषणाको पक्ष राष्ट्रमा नेपाल रहेकाले भोकमरी र कुपोषणसम्बन्धी प्रतिबद्धता पूरा गर्नै पर्छ । अतः यस्ता विदेशी कार्यक्रम लागू गरेर कार्यकर्ता पोस्नुभन्दा सरकारले समुदायलाई आफ्ना करेसाबारीमा उब्जेका हरिया तरकारी, सागपात, सन्तुलित गरी खान सिकाउने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर बजारका पत्रु खानेकुरामा बन्देज लगाउनुपर्छ । दुर्गम जिल्लामा खाद्यपदार्थ समयमै आपूर्ति गर्ने, स्तनपानको महत्त्व बुझाउने, विद्यालयका पाठ्यक्रममा खानेकुरा र स्वास्थ्य विषय अनिवार्य गर्ने, समुदायमा नियमित स्वास्थ्य परीक्षण व्यवस्था गर्नेलगायत काम गर्न सकेमा मात्र कुपोषण समस्या हट्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

दृष्टिकोण

पुँजीपतिविरुद्ध प्रचलित आक्रोश

- सीके लाल

 

आजभोलि ठूला व्यापारीहरूमा होटल खोल्ने होड चलेको छ । चामल, फलामे डन्डी, सिमेन्ट र सुनचाँदी व्यापारीले होटल व्यवसायमा लगानी गर्नुको मुख्य कारण त बढ्दो बजार नै होला । पश्चिमा पर्यटकहरूको संख्या केही कम हुँदै गएको भए पनि चिनियाँ र भारतीय आगन्तुकहरूका लागि नेपाल अझै पनि सहज, सस्तो एवं आकर्षक गन्तव्य हो । केही वर्षदेखि गैसस उद्यमीहरूले आन्तरिक पर्यटनको उल्लेख्य बजार सिर्जना गरेका छन् । विवाह एवं अन्य नियमित संस्कारका लागि घरको साटो आफ्नो बजेटअनुसारको होटल नै छान्ने चलन पनि बढिरहेको छ । उपभोक्ता समाजमा उल्लेख्य यात्रुहरूको संख्या घुमन्ते बिक्रेता एवं व्यापार प्रवर्द्धकको पनि हुने नै भयो । तर, त्यस्ता सबै विवेचन सँगसँगै व्यापारीहरूमा होटल व्यवसायमा लाग्ने कमसेकम एउटा कारण भने प्रतिष्ठाको आकर्षण पनि हुने रहेछ । होटल व्यवसायमा जागिरदारी प्रथाको शक्ति सम्बन्ध झल्किन्छ । कामदारहरू पढेलेखेका, शिष्ट एवं अंग्रेजी बोल्ने हुन्छन्Ù ‘यस म्याडम, यस सर’ गर्छन् । ग्राहकहरू पाहुना भएर आउँछन् । आपूर्तिकर्ताहरू सम्मानका साथ व्यवहार गर्छन् । र, सबभन्दा मुख्य कुरा, सरकारी कर्मचारी ‘ए साहूजी’ नभनी ‘फलानो जी’ भनेर सम्बोधन गर्न थाल्छन् । सामान्यजनलाई भने सम्मोहक होस् वा नीरस, सबै पुँजीपति उस्तै लाग्ने रहेछन् । लगानीकर्तालाई सम्मान गर्ने संस्कार नेपाली समाजमा स्थापित हुन बाँकी छ ।
प्रसंग बर्दिवासको हो । मैथिलीमा गोरुलाई ‘बरद’ भन्छन् । उहिलेउहिले सीमापारिबाट मालसामान चुरेको फेदीसम्म गोरुगाडामा ढुवानी गरिन्थ्यो । त्यसपछि घोडामा चुरे कटाएर भरियाहरू मैदानको उत्पाद पहाड र हिमाल पुर्‍याउने गर्थे । फर्किने बेला गोरुगाडामा काठ लादिन्थ्यो । दर्जनौं गोरुगाडाका ‘बरद’ बास बस्ने भएकाले बस्तीको नाउँ ‘बरदबास’ हुन गएको प्रचलित किंवदन्ती छ । कालक्रममा ‘बरदबास’ नै ‘बर्दिबास’ हुन पुगेको हो भन्ने आकलन असंगत लाग्दैन । पहाडबाट मधेस झर्दै पहिले मुगल एवं त्यसपछि इस्ट इन्डिया कम्पनीमा जागिर खान गएका लडाकाहरू आफ्नो बर्दी फुकालेर पहाड उक्लिने गरेकाले नाउँ पनि बर्दिबास नै हुन गएको हो भन्ने तर्क पनि बलियो छ । दुवै थरी तर्कसँग नमिल्ने यथार्थ के हो भने, जनमत संग्रहको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सरपट जंगल कटानी गर्न लगाएर पहाडका मान्छेलाई जग्गा नबाँडेसम्म बर्दिबास सानो बस्ती मात्रै थियो । सामान्यतः वस्तुको विनिमय वा व्यक्तिको आवतजावत हुने ठाउँमा सहरको विकास हुन्छ । बर्दिबासमा त्यसो हुन नसक्नाका तीन कारण हुन सक्छन् । त्यस क्षेत्रमा पिउने पानीको अभाव रहँदै आएको छ । माटोको चरित्रले गर्दा पोखरीमा पानी अडिँदैन, र, भूतल जलको स्तर ऊबेलाको प्रविधिले नभ्याउने गरी गहिरो छ । दोस्रो कारण सर्पको बिगबिगी हो । बर्दिबासदेखि सिन्धुली जाने सडकका लागि सुरुङको सम्भावना पहिल्याउन प्राविधिक अन्वेषण गर्दा सिंगो डाँडामुनि लाखौं सर्प रहेको तथ्य फेला परेपछि तिनको बासस्थान नखलबल्याउन सतहबाटै बाटो बनाइएको थियो । तेस्रो कारण बर्दिबासको खासै केही नउब्जिने माटो हो । ठूलो आकारको बस्ती विकसित हुन व्यापारले मात्र पुग्दैन, कृषि वा उद्यमको उत्पाकदत्व पनि चाहिन्छ ।
अहिले परिस्थिति बदलिएको छ । खानेपानी आपूर्तिको प्रविधि विकसित भएको छ । बिजुली बत्तीले गर्दा सर्पहरू डराउन थालेका छन् । कृषि उत्पाकदत्वमा उल्लेख्य परिवर्तन नआएको भए पनि सेवा उद्यम भने फस्टाएको छ । माओवादी सशस्त्र द्वन्द्वले पहाडको मध्यम वर्गलाई तल झारेको थियो, पहिलो मधेस विद्रोहले तलका पहाडियाहरूलाई बर्दिबास रोज्न बाध्य बनाएको हो । थातथलो छोडेर बसाइँ सर्नेहरूमा केही गरेर देखाउने उत्कट चाहना हुन्छ । बर्दिबासमा त्यस्तो उद्यमशीलताको ऊर्जा महसुस गर्न सकिन्छ । ई–रिक्सा चलाउने ड्राइभरदेखि लिएर पसलमा कलम बेच्नेले समेत पाएको ग्राहक सितिमिति छोड्दैनन् ! राजमार्गभन्दा केही उत्तर जंगलमा एक जना गहना व्यापारीले तीनतारे होटल बनाएका रहेछन् । होटलका कतिपय पाहुना बिहानी वा सन्ध्याकालीन घुमफिरका लागि उत्तरतिरको गाउँमा जाँदा रहेछन् । यस्तै टहल्ने क्रममा गाउँका एक पसलेलाई होटल मालिकका बारेमा जानकारी माग्दा पाएको जवाफ बडो टर्रो किसिमको थियो । ‘हाम्रातिर होटल कसले खोल्न सक्छ र ! माडेको हो नि ।’ यी दुई वाक्यभित्र नेपाली सामान्यजनमा व्याप्त नैराश्य, लगानीकर्ताप्रतिको उदासीनता एवं एउटा खास समुदायप्रतिको दुराग्रह एकसाथ झल्किन्छ ।
सामाजिक, ऐतिहासिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं कूटनीतिक आयाम रहेको माडवाडी समुदायप्रतिको दुराग्रह सहजै सम्बोधन हुन सक्ने कुरा होइन । तर, तिनको उद्यम देखेर हुने नैराश्य एवं आफ्नो
अवस्थाप्रतिको उदासीनता कायम रहेसम्म आर्थिक रूपान्तरणको मुद्दा फगत नाराबाजीमा सीमित रहने पक्का छ । त्यस्तो निराशाजनक अवस्थाका लागि एक हदसम्म व्यवसायीहरू पनि जिम्मेवार छन् । लगानीको उल्लेख्य हिस्सा बैंकहरूले बेहोर्छन् । आर्थिक प्रोत्साहन एवं कर छुटजस्ता सुविधा सरकारले दिन्छ । कर्मचारीहरू ज्यालाका लागि परिश्रम गर्छन् । तर, नाफाजति जम्मै व्यवसायीको परिवारले पाउने चलनले गर्दा उद्यमी एवं व्यापारीहरूप्रति जनस्तरमा आक्रोश निरन्तर बढ्दै गइरहेको छ । सोझो सम्बन्ध स्थापित गर्न कठिन छ, तर लगानीकर्ताले सम्मान नपाउने समाजको आर्थिक वृद्धि रोकिन्छ एवं राजनीति सुस्तरी हिंसा–प्रतिहिंसाको चक्रमा फस्छ भन्ने अवधारणालाई स्वीकार गर्ने हो भने नेपालमा तथाकथित वामपन्थी दलहरूको लोकप्रियता अस्वाभाविक लाग्दैन । राष्ट्रवादी भएकाले कामै नगरी उच्च जीवनशैली कायम राख्न पाउनुपर्ने राजनीतिकर्मीहरूको खोक्रो दाबी हाताहात बिक्ने संसारका थोरै मुलुकहरूमध्ये नेपाल पनि हो । सशस्त्र क्रान्तिको प्रभावकारी प्रतिकारका लागि शासन व्यवस्थामा सुधारका साथै व्यवसायीहरूको व्यवहारमा पनि परिवर्तन ल्याउन जरुरी छ ।

न्यास पुँजीवाद
परोपकारी पुँजीवाद (फिलन्थ्रोपिक क्यापिटलिज्म) भन्ने शब्दावली नयाँ भए पनि यस अवधारणाको इतिहास भने पुरानो छ । प्रजापतिले दिएको ‘द’ मन्त्रको अर्थ देवताका लागि महत्त्वाकांक्षाको दमन, असुरका लागि प्राणी मात्रप्रति दयाभाव एवं मनुष्यका लागि दानको महिमा भनेर अर्थ्याइएको छ । व्यासको वचनअनुसार परोपकारलाई पुण्य एवं परपीडनलाई पाप ठहर्‍याइएको छ । गुरु शुक्राचार्यले दानवेन्द्र बलिलाई दिएको परोपकारी पुँजीवादको सूत्रअनुसार अर्जित धनलाई पाँच भागमा बाँड््नु उपयुक्त हुन्छ । बाँडफाँट बराबर नै हुनुपर्छ भन्ने छैन, आवश्यकताअनुसार भागमा हेरफेर हुन सक्छ । गुरु शुक्राचार्यले धर्मका लागि छुट्याउन भनेको भाग आजभोलिको भाषामा समाजसेवाका लागि होला । त्यसपछि उनी यश एवं कीर्तिका लागि दोस्रो भाग खर्चिन सुझाउँछन् । परोपकारी चिकित्सालय, विद्यालय एवं महाविद्यालयभन्दा यशवर्द्धक लगानी अरू हुन सक्दैन । तेस्रो भाग धनकै वृद्धिका लागि गरिने लगानी हो । त्यस्तो रकम व्यापार विविधीकरण एवं कामदारको क्षमता अभिवृद्धिमा जान सक्छ । चौथो भाग भोगका लागि छुट्याउनुपर्छ, तर त्यो अत्यधिक भड्किलो भने हुनु हुँदैन । अन्तिम भाग स्वजनहरूका लागि राखिनुपर्छ । स्वजनको ईर्ष्या धननाशको प्रमुख कारण हुने भएकाले आफन्तहरूलाई आफ्नो समृद्धिमा सहभागी गराउनु धनवान्को स्वहितकै लागि पनि आवश्यक छ । तर, शुक्राचार्य असुरहरूका गुरु थिए । ब्राह्मणवादमा दीक्षित वैश्यहरूलाई समेत उनको अर्तीले नछुने रहेछ ।
करुणामय पुँजीवाद (कम्प्यासनेट क्यापिटलिज्म) पनि पुरानो अवधारणालाई नयाँ शब्दावलीमा समेट्ने प्रयत्न हो । पुँजीले गर्ने स्रोतको दोहनका असरहरू कम गर्नु पुँजीपतिको जिम्मेवारी हो । पर्यावरणप्रति संवेदनशील हुनुपर्छ । उद्यमले स्थानीय समुदायमा पार्ने नकारात्मक प्रभावलाई बेवास्ता गर्न पाइँदैन । कामदारहरूसँग सम्मानको सम्बन्ध कायम गर्नु व्यवस्थापनको जिम्मेवारी हो । उत्पादन मात्र नभएर उपभोगसम्म सुरक्षाको सुनिश्चितता उत्पादककै जिम्मेवारी हुन जान्छ । समयमा कर तिर्नु, व्यावसायिक पारदर्शिता कायम राख्नु एवं असल नागरिकका सबै जिम्मेवारी निर्वाह गर्नु करुणामय पुँजीपतिका गुणहरू हुन् । दुर्भाग्य, छिटोभन्दा छिटो बढीभन्दा बढी नाफा थुपार्ने दौडमा करुणामय पुँजीवादका मान्यताहरू हराएका छन् । त्यसभन्दा बरु नाफाको एउटा सानो हिस्सा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) भनेर छुट्याउन सजिलो छ । तर, सीएसआर कोषको सञ्चालन व्यवसायीहरू मनपरी ढंगले गर्छन् । त्यस्तो कोषको ठूलो हिस्सा छवि निर्माणमा खर्च हुन्छ । उद्यमीको परिवारका सदस्यले चलाउने गैससले पनि केही अनुदान पाउँछन् । राष्ट्र बैंकको एउटा प्रतिवेदन अनुसार सीएसआर कोषबाट हुने खर्च क्षेत्रगत तथा प्रदेशगत रूपमा अत्यन्त असन्तुलित छ । स्पष्ट छ, सीएसआर व्यवसायीहरूको सामाजिक दायित्व पूरा गर्ने दिशामा खासै उपयोगी देखिएको छैन ।
महात्मा गान्धीको न्यास पुँजीवादको अवधारणा जटिल, कठिन तर मानव समाजको कल्याणका लागि जरुरी छ । न्यास पुँजीवादको प्रारम्भिक मान्यता साम्यवादसँग मिल्दोजुल्दो छ । जल, जंगल, जमिन, जनशक्ति एवं जलवायुजस्ता सबै स्रोत मानव जातिका साझा सम्पदा हुन् । धनी र गरिब एवं आर्थिक असमानता इतिहासका संयोगहरूको उपज हो । त्यसपछि भने साम्यवाद एवं गान्धीवादको बाटो छुट्टिन्छ । साम्यवादीहरू हिंसक क्रान्तिका माध्यमले स्रोतहरूको राष्ट्रियकरण गरेर समतामूलक वितरणको आश्वासन बाँड्छन् । गान्धीका अनुसार सबै पुँजीपति स्वेच्छाले न्यासी भएर आफ्नो सम्पत्तिको व्यवस्थापन सार्वजनिक हितका लागि गर्ने हो भने पृथ्वीमा सबैलाई पुग्ने गरी पर्याप्त स्रोत छ । न्यास पुँजीवाद पनि साम्यवादजस्तै भूस्वर्गको अवधारणा लाग्न सक्छ । बीचको बाटो कतै देखिँदैन ।
निर्वाह अर्थतन्त्रले गर्दा नेपालको आफ्नो लगानीयोग्य आयाधिक्य नगण्य छ । उत्पादन प्रविधिको मामिलामा नेपालको अवस्था अर्ध–स्वचालितभन्दा माथि उक्लिन सकेको छैन । शासन व्यवस्था संसारकै सबभन्दा बेकामे र भ्रष्ट भएकाले बाहिरका लगानीकर्ता केही गरी प्रवेश गरिहाले पनि तिनलाई टिक्न यहाँको ‘चलन’ अंगीकार गर्नुपर्ने हुन्छ । अदक्ष कामदार प्रशस्त भए पनि तिनमा पात्रताभन्दा राष्ट्रवादी अधिकारभाव (एन्टाइटल्मन्ट) बलियो छ । भएका उद्यमहरूको व्यवस्थापनमा ‘रामभरोसे’ प्रवृत्ति हाबी छ । उच्च व्यवस्थापक एवं तल्लो तहका कर्मचारीहरूबीचको पारिश्रमिकको खाडल अत्यासलाग्दो छ । यति हुँदाहुँदै पनि एकातिर स्थानीय समुदायले व्यवसायीलाई सहेर बसेका छन् भने अर्कातिर भयंकर जोखिमका बाबजुद लगानीकर्तासमेत टिकेका देखिन्छन् । सहने र टिक्नेको सम्बन्धले दीर्घकालीन हित भने सुनिश्चित गर्दैन । लगानीकर्ता, व्यवसायी, स्थानीय समुदाय एवं उपभोक्ताबीचको अन्तरसम्बन्धलाई सुदृढ नगरेसम्म जनोत्तेजक प्रियतावाद एवं अन्य घृणालाई बढावा दिने राजनीतिबाट मुक्त हुन सकिनेछैन । आखिर राजनीतिलाई दिशानिर्देश गर्ने शक्ति जस्तोसुकै व्यवस्थामा अर्थनीति नै हुन्छ ।

निरपेक्ष व्यवसायी
आफ्नो कमाइ स्वेच्छाले खर्च गर्न पाउनुपर्छ भन्ने तर्क अनुचित होइन । तर, छिमेकमा मृत्यु संस्कार चलिरहँदा ‘मेरो घर त मेरो हो’ भने ढिपी गर्दै बाजा बजाउनुलाई उपयुक्त मान्न सकिँदैन । एसियामा अफगानिस्तानपछिको दोस्रो एवं दुनियाँकै सबभन्दा गरिब देशहरूको सूचीमा रहेको नेपालमा करोडौं पर्ने मोटर चढ्ने व्यवसायीहरू सामान्यजनको दरिद्रताको खिल्ली उडाइरहेका हुन्छन् । प्रदर्शनप्रियताको यो रोग अब भुइँतहसम्म पुगेको छ । व्यवसायीहरूको देखासिकी गर्दै निर्वाचित पदाधिकारी एवं सरकारी कर्मचारीहरूमा पनि महँगो मोटर मन पराउने लत बसेको छ । पेट्रोल, डिजेल एवं मर्मतका लागि चाहिने पार्टपुर्जासँगै पन्चर टाल्ने मेसिन एवं जनशक्तिसम्म पर्याप्त नभएको देशमा मोटर आर्थिक रूपान्तरणको अवयव हुन सक्दैन । सार्वजनिक यातायातमा संगठित लगानीको अभावले गर्दा सडक यातायात दिनानुदिन असुरक्षित बन्दै गइरहेको छ । गाडीको प्रविधिमा विविधता, चालकको दक्षता स्तर एवं नियमित सम्भारमा एकरूपता नभएकाले गर्दा नेपालको सडक यातायात योजनालाई भरोसायोग्य बनाउन अब असम्भवजस्तै भइसकेको छ । यात्रा अवधि किटान गर्न सकिँदैन । भाडादर तोक्न अप्ठ्यारो छ । लगभग सबैजसो सार्वजनिक यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्छन् । नियमन नगरेको दोष भने प्रहरीले मात्र पाउँछ । यातायात व्यवसायीहरूको ‘कार्टेल’ यतिविघ्न बलियो छ कि त्यसलाई अहिलेसम्मको कुनै पनि सरकारले छुनसम्म सकेको छैन ।
शिक्षा व्यापारको प्रक्षेपण पथ पनि कम उदेकलाग्दो छैन । जनतालाई शिक्षाबाट वञ्चित राख्नु राज्यको नीति थियो । ब्राह्मणबाहेक अरूले वेद पढ्नु हुँदैन भन्ने त हिन्दु धर्मको मान्यता नै हो । सन् १९५० को दशकमा आधुनिकता रुचाउने एवं सामाजिक दायित्व भएका केही व्यवसायीले सामुदायिक विद्यालय सञ्चालनका लागि दान दिए । सन् १९७० को दशकमा राष्ट्रिय एकरूपता कायम गर्ने निहुँमा तिनको राष्ट्रियकरण गरियो । सरकार एक्लैले सबैका लागि शिक्षा सुनिश्चित गर्न नसक्ने बहानामा सन् १९८० को दशकमा शिक्षा क्षेत्र नाफामुखी लगानीका लागि खुला गरियो । सन् १९९० देखि शिक्षाको व्यापार सबभन्दा बढी नगद प्रवाह हुने व्यापार रहँदै आएको छ । अब भने शिक्षा व्यापारीहरूका लोभी आँखा दाताहरूले राखिदिएका, सन् १९५० र १९६० दशकताकाका सामुदायिक विद्यालयहरूको सम्पत्तिमा पर्न थालेको छ । सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने बहानामा तिनको निजीकरण प्रक्रिया सुरु भयो भने अचम्म नमाने हुन्छ ।
स्वास्थ्य व्यापारको हालत त झन् शिक्षाको कारोबारभन्दा पनि खराब छ । बढ्दो बजेटका बावजुद सरकारी अस्पतालहरू दुष्क्रियाशील बन्न पुगेका छन् । विशिष्ट सेवा प्रदान गर्नेबाहेकका सरकारी अस्पतालहरूको छवि रोग बल्झाएर नाफा क्षेत्रका उद्यमतिर बिरामी दौडाउने उपक्रममा रूपान्तरित भएको छ । शिक्षाको व्यापारलाई पाप भनिएको छ । रोगको व्यापार त झन् महापाप हुनुपर्ने हो । तर, हिन्दु धर्ममा यज्ञ, गोदान एवं ब्राह्मणलाई प्रसन्न तुल्याएपछि जस्तोसुकै पापबाट मुक्ति पाइने भएर होला, सम्पन्न व्यवसायीहरूले समेत परोपकारी शिक्षालय, महाविद्यालय एवं चिकित्सालय सञ्चालन गर्ने आवश्यकता देख्दैनन् ।
व्यवसायी पनि अर्को ग्रहबाट आएका जन्तु भने होइनन् । पूर्वजन्मका कर्महरूको फल भोग्नुको विकल्प छैन भन्ने संस्कारले गर्दा परोपकार हिन्दु धर्मको अभिन्न अंग बन्न सकेको छैन । दया अरू वर्णप्रति देखाइए पनि दानको पात्रता ब्राह्मणमा मात्र हुने भएपछि स्कुल र अस्पताल खोल्नुको साटो सम्पत्ति हुनेहरू पनि मन्दिर बनाउँछन्, महायज्ञ गर्छन् वा पुराण सुन्ने अनुष्ठान गर्छन् । त्यस्ता सबै कर्मले ब्राह्मणको व्यवसाय बढाउँछन् । धेरैजसो राजनीतिक दलका नेता ब्राह्मण छन्, तिनलाई दिइने चन्दारूपी लगानी पनि धर्म नै ठहरिँदो हो । भारतमा सबभन्दा धनीहरूको सूचीमा नपरेका अजीम प्रेमजी त्यहाँका सबभन्दा ठूला परोपकारी ठहरिनुमा केही न केही भूमिका त धार्मिक आस्थाले सिर्जना गर्ने सामाजिक दायित्वको पनि हुनुपर्छ । व्यवसायीहरूको सामाजिक उत्तरदायित्व बोध बढाउन तिनीहरूसँग रिस गरेर हुँदैन, सुस्तरी परोपकारको संस्कारलाई जीवनशैलीको अभिन्न अंग बनाउँदै लैजानुपर्छ । त्यस्तो शुभकर्मको सुरुवातका लागि दशहराभन्दा उपयुक्त अवसर अर्को के नै हुन सक्छ ! परोपकारी दसैंका लागि हार्दिक शुभकामना !

Page 9
दृष्टिकोण

दाजैहरू, आशीर्वाद देऊ

- केशव दाहाल

प्रश्नहरू
दलहरू यति बेला महाधिवेशन वा पुनर्गठनको चटारोमा छन् । कांग्रेसले महाधिवेशनको प्रक्रिया थालेको छ । एमाले विभाजन भयो र लगत्तै विधान अधिवेशनमा गयो । माधव नेपाल र महन्थ ठाकुरहरूले आ–
आफ्ना गुटलाई पार्टीकरण गरे । माओवादी नेता प्रचण्ड हतास स्वरमा पार्टी पुनर्गठनको पैरवी गरिरहेका छन् । यदि सकारात्मक जोडबल हो भने यावत् हलचलहरू आफैंमा सुन्दर घटना हुन् । तर चल्तीकै स्वाङ र तुष्टि हो भने यी मात्र मदारीका तमासा हुन् । कर्मकाण्ड । एजेन्डाबिना गरिने महाधिवेशन र पुनर्गठनको के अर्थ ?
संयोग भनौं वा नियति, हाम्रा दलहरूबीच केही रोचक समानता छन् । सबैमा हुटहुटी छ । सबैमा खटपटी छ । सबैमा नेतृत्वको देवत्वकरण छ । तर कसैले पनि आजका असफलताहरूको राजनीतिक र व्यावहारिक समीक्षा गरेका छैनन् । सबैमा पूर्वाग्रह छ, तर प्रतिस्पर्धा छैन । चाकरी छ, आलोचना छैन । सत्ता छ, सपना छैन । जीवन छ, चेतना छैन । लेनदेन छ, राजनीति छैन । घटनाहरू स्वयंले स्पष्ट गर्छन्, सबै दलका पहिलो र दोस्रो पुस्ता आजका लागि कामै नलाग्ने देखिए । थोत्रा भाँडाकुँडाजस्ता, पत्रु । बज्छ तर प्रयोग छैन । न त चेतना, न त सपना, न त सिर्जना । नेताहरूमा मात्र सत्तालिप्सा छ, गति र ऊर्जा छैन । दुर्भाग्य, पहिलो पुस्ताको लाजलाई दोस्रो पुस्ताले छोपिरहेको छ र ऊ स्वयं नांगेझार हुँदै छ । कार्यकर्ताहरू यो प्रहसनका तमासे बनेका छन् । कस्तो घनघोर अन्धकार ?
राजनीतिलाई अन्धकारबाट कसरी निकाल्ने ? के राजनीतिमा उज्यालो खोज्ने काम देउवा, ओली, प्रचण्ड, माधव, उपेन्द्र वा महन्थबाट सम्भव छ ? अथवा रामशरण, अर्जुननरसिंह, भीम, ईश्वर वा शशांकबाट नयाँ आशा गर्न सकिन्छ ? असम्भव छ । बिम्बमा भनौं, पतिंगरहरूले फूल हुनुको भ्रम छर्दैमा कसले पत्याउँछ ?
जस्तो कि, देउवाबाटै प्रश्न गरौं, के देउवा स्वयंले आफू प्रधानमन्त्री हुनुको औचित्य स्थापित गर्न सक्लान् ? सक्दैनन् । अतः कांग्रेसले विचार गर्नुपर्ला, मुलुक सञ्चालनमा पटक–पटक असफल कांग्रेस यो दुर्भाग्यका लागि कुन श्रापले अभिशप्त छ ? अन्यथा देश कांग्रेसको नेतृत्वमा उहिल्यै स्वर्ग बन्नुपर्ने हैन र ? तर भयो के ? कांग्रेस आफ्नै इतिहाससँग आँखा जुधाउन नसक्ने भयो । सर्वत्र असफलता ।
भर्खरै एमालेको विधान अधिवेशन सकियो । त्यहाँ के भयो, भन्नुपर्दैन । के कम्युनिस्ट शास्त्रमा व्यक्तिको स्तुति, चाकरी र देवत्वकरणलाई महाधिवेशन भनिन्छ ? प्रश्नहरू हराउनु र आलोचना चाकडीमा रूपान्तरित हुनु कम्युनिस्ट आन्दोलनको महापतन हो । अन्यथा आफ्नै नेतालाई किन सोधिएन, फुटको रहस्य ? निश्चय नै, अधिवेशनस्थल भव्य थियो । तर त्यो भव्यताभित्र विचारको भव्यता किन खोजिएन ? नेताहरू राता झन्डाहरूले घेरिएर बसे । अन्तर्राष्ट्रिय गीत गाइयो । तर कम्युनिस्ट हुनु भनेको के हो, किन कसैले सोधेन ? कम्युनिस्टहरू (?) भित्र हुर्कंदो पतनको यो कथा एमालेको मात्र कथा हैन, समाजवादीको पनि हो र माओवादीको पनि हो । यस्तो बेला राजनीतिमा उज्यालो खोज्ने नयाँ पुस्ता कहाँ छ ?

प्रश्नहरूको अन्तर्य
देशले चौतर्फी असफलता भोगिरहेको छ । केही मान्छे यो असफलतालाई त्रासमा बदल्न चाहन्छन् । निश्चय नै, निर्वाचन
हेर्‍यो, महँगो छ । सरकार हेर्‍यो, परिणामविहीन छ । संसद् बस्दैन, तर सांसदले तलब बुझेकै छन् । अख्तियार छ, काम गर्दैन । दलालहरू मोटाएकै छन् । तर जनताको भोक, रोग र विभेद उस्तै । दुई वर्षमा सक्नुपर्ने योजना दस वर्षमा सकिँदैन । ढलमा बच्चा झर्छ र हराउँछ, कसैले जवाफ दिनुपर्दैन । भ्रष्टाचार छ, सबै चुपचाप । सर्वत्र सत्ताको विवाद । सर्वत्र गुट र विभाजन । फुटेका पार्टीहरू पनि उस्तै, जुटेका पार्टीहरू पनि उस्तै । र, केही खराब मान्छेहरू यो सबैलाई अस्थिरता र द्वन्द्वमा बदल्न चाहन्छन् । त्यसैले उनीहरू राजनीतिक असफलतालाई व्यवस्थाको असफलता भनेर हल्ला गरिरहेका छन् । उनीहरू पार्टीको असफलतालाई लोकतन्त्रको असफलता भन्दै ढोल बजाउँदै छन् ।
तर सत्तामा बस्नेहरू चुपचाप छन् । तर मार्नेहरू मौन छन् । नेतृत्वको पहिलो पुस्ता त त्यस्तै भयो, दोस्रो पुस्ता अझ पहिलोभन्दा खराब, लाचार र लबस्तरो देखिँदै छ । नेताको फेर समाउने र सत्ताको वैतरणी पार गर्ने उसको नियतले समस्या देख्दैन, सत्ता देख्छ । राजनीति फोहोर हुँदा आहालको डिलमा बसेर गन्देझारको माला उन्न रुचाउने दोस्रो पुस्ताले लाज पचाइसक्यो । यस्तो बेला तेस्रो पुस्ताले आफ्नै नेतृत्वमाथि निर्मम समीक्षा नगर्ने हो भने राजनीति कता जाला ?
यी प्रश्नहरूको अन्तर्य के भने, दलहरूभित्र जाज्वल्यमान नयाँ पुस्ता आवश्यक देखियो । राजनीतिमा नयाँ विचार, नयाँ मुद्दा, नयाँ संस्कृृति र नयाँ नेतृत्व आवश्यक देखियो । पहिलो पुस्ताले व्यवस्था त फेर्‍यो तर व्यवस्थापन बदल्न सकेन । त्यसैले शासकीय व्यवस्थापनमा नयाँ, प्रभावकारी र परिणाममुखी प्रबन्धन आवश्यक भयो । पहिलो र दोस्रो पुस्ता पुरानै कर्मकाण्डमा खुसी देखिए । उनीहरू पुरानै सत्तामा खुसी देखिए । त्यसैले उनीहरूलाई चुनौती दिने र नयाँ गन्तव्य खोज्ने तेस्रो पुस्ता आजको आवश्यकता भयो । अन्यथा अरूजस्तै नर्कतिर हिँडेर स्वर्ग कसरी प्राप्त हुन्छ ?

बदलावको प्रस्ताव
बदलाव कहाँ खोज्ने ? विकल्प कहाँ खोज्ने ? तेस्रो पुस्तालाई अनुरोध छ, समस्या जहाँ छन्, त्यहीँबाट बदलाव खोजौं । असफलता जहाँ छ, त्यहीँबाट सफलता खोजौं । के आजका असफलताहरू व्यवस्थाका दोष हुन् ? होइनन्, व्यवस्थापनका दोष हुन् । अतः बदलाव व्यवस्थापनमा खोजौं । के आजको संकट संविधानले सिर्जना गरेको हो ? होइन, यो सरकारको असफलता हो । अतः बदलाव सरकारको चरित्रमा खोजौं । देश असफल भएको होइन, दलहरू असफल भएका हुन् । त्यसैले बदलाव आफ्नै दलहरूको जीवनमा खोजौं । बदलाव आफ्नै पार्टीहरूमा खोजौं । पछिल्लो असफलता लोकतन्त्रको होइन, नेतृत्वको असफलता हो । अतः बदलाव आफ्नै नेतृत्वमा खोजौं ।
अबको शासकीय स्वरूप कस्तो बनाउने ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था शासकीय सुधारको आधार हुन सक्छ । किनभने आफ्नो कार्यकारी प्रमुख छान्ने सार्वभौम अधिकार अवश्य नै जनतामा निहित छ । यसो गर्दा निर्वाचित कार्यकारीहरू तानाशाह हुन सक्छन् भन्ने जुन सन्दर्भ छ, त्यसमा यथोचित नियन्त्रणको प्रबन्ध गर्न सकिन्छ । साथै छलफल गरौं, प्रत्येक तहका कार्यकारी प्रमुख र उपप्रमुखहरूको पदावधि कति बनाउने ? यसमा एक व्यक्ति दुई कार्यकाल निर्धारण गरौं ।
त्यसैगरी सांसदहरू नै मन्त्री बन्ने परम्परागत संसदीय प्रणालीको विकल्प के होला ? किनभने सरकार गठन–विघटनमा निरन्तर सांसदहरूको संख्या हाबी हुँदै जानु राम्रो विषय होइन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले निश्चित मापदण्डका आधारमा संसद्–बाहिरबाट मन्त्रिमण्डलको गठन गर्ने विधि अर्को प्रस्ताव हुन सक्छ । यसो गर्दा व्यवस्थापिकाले कार्यपालिकालाई स्वतन्त्र ढंगले नियमन गर्न पाउँछ । मन्त्री बन्ने लोभबाट सांसदहरू मुक्त हुन्छन् । निर्वाचनका बेथितिहरू सकिन्छन् । साथै, विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार प्रदान गरौं । निर्वाचनमा ‘राइट टु रिजेक्ट’ र ‘नो भोट’ लागू गरौं । पछिल्लो समय पूर्ण समानुपातिक व्यवस्थापिकाको प्रस्ताव आइरहेको छ । त्यो के हो ? छलफल गरौं । स्थानीय तहमा, जिल्ला समन्वय समिति हटाऔं । स्थानीय पालिकामा गैरदलीय निर्वाचन गरौं ।
अहिले राज्यसत्ताको पार्टीकरण तीव्र छ । संवैधानिक अंगहरूमा हुने नियुक्तिहरू दलीय प्रभावबाट मुक्त छैनन् । हाम्रा आयोग, विश्वविद्यालय, संस्थान र सेवाप्रदायक अंगहरू निम्छरा छन् । अतः सबैको निष्पक्षता र प्रभावकारिता सुनिश्चित गरौं । प्रश्न गरौं, के दलहरू निजामती प्रशासनमा सम्पूर्ण फेरबदल गर्न तयार छन् ?
लोकतन्त्रलाई परिणाममुखी बनाउने महत्त्वपूर्ण कडी हो— सुशासन । भ्रष्टाचारमा शून्य सहनशीलता । सेवाप्रवाहमा सुधार । कानुनी शासनको प्रत्याभूति । यसका लागि, २०४६ पछिका प्रधानमन्त्री, मन्त्री, सांसद्, राजनीतिक नियुक्ति पाउनेहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरौं । के आफैंमाथि परीक्षण गर्न नेताहरू तयार छन् ? हामीसँग अख्तियार, सम्पत्ति शुद्धीकरण र सतर्कता केन्द्रजस्ता महत्त्वपूर्ण अंगहरू छन् । तर यी अंगहरूमाथि जनताको विश्वास घट्दो छ । के यिनीहरूलाई स्वायत्त र विश्वासिलो बनाउन दलहरू तयार छन् ? नेतालाई सोधौं । खबरदारी गरौं । बदलाव र हलचल आफ्नै दलबाट सुरु गरौं ।

आर्थिक–सामाजिक बदलाव
आर्थिक न्यायलाई लोकतन्त्रको आधार मानिन्छ । अतः किसान, मजदुर, सीमान्तकृत समुदाय, न्यून वेतनधारी वर्ग र ग्रामीण जीवनलाई कसरी आर्थिक न्याय दिने ? पार्टीभित्र मन्थन थालौं । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र सार्वजनिक यातायातलाई कसरी प्रभावकारी बनाउने ? यसलाई पार्टीको एजेन्डा बनाऔं । विपन्नलाई आर्थिक सुरक्षा दिन रासन कार्डको व्यवस्था गरौं । अथवा आम्दानीको न्यूनतम ग्यारेन्टी गर्न सरकारलाई भनौं । भूमिसुधार, पूर्वाधार विस्तार, औद्योगिकीकरण, राष्ट्रिय उत्पादन वृद्धि, रोजगारी सिर्जना, आवासको ग्यारेन्टी, बिजुली र पानीको सर्वसुलभ वितरणजस्ता दैनिक जीवनसँग जोडिने विषयहरूलाई राजनीतिका मुद्दा बनाऔं ।
विज्ञहरू भन्छन्— कृषि, उद्योग, पर्यटन, पूर्वाधार र सेवा क्षेत्रमा वार्षिक १० लाख नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ, जसले एक दशकभित्र वैदेशिक रोजगारीको पछिल्लो दरलाई १० प्रतिशतमा झार्छ । यो कसरी सम्भव छ ? छलफल गरौं । विज्ञहरूलाई सोधौं । र, साथमा शिक्षा र स्वास्थ्य पूर्णतः निःशुल्क गरौं । अन्यथा विचार गरौं, यति ठूलो राजनीतिक उपलब्धिपछि पनि साधारण मान्छेको जीवनमा किन कुनै परिवर्तन देखिएन ? यो असफलता आफ्नो काँधमा बोकेर तपाईं कसरी कांग्रेस ? तपाईं कसरी कम्युनिस्ट ? तपाईं कसरी समाजवादी ? असफलताहरूलाई छोपछाप पारेर नयाँ पार्टी बनाउनुको के अर्थ ? विगतको समीक्षा नगरी गरिने महाधिवेशनको के प्रयोजन ?
राजनीतिक व्यवस्था राज्यसत्तालाई आकार दिने मुख्य विषय हो । तर प्रभावकारी व्यवस्थापनबिना यसले परिणाम दिँदैन । अतः व्यवस्थापनमा बदलाव आजको प्रमुख एजेन्डा हो । यो नै आजको राजनीति हो । यो नै आजको कार्यभार हो । यो नै आजको विचार हो । तर, के यो कार्यभार पूरा गर्न पहिलो र दोस्रो पुस्ताको नेतृत्वले सक्ला ? सक्दैन । किनभने त्यहाँ आशा र अपेक्षाको उज्यालो छैन । त्यहाँ विवेक छैन, झेल छ । त्यहाँ सिर्जना छैन, तिर्सना छ । त्यहाँ परिवर्तनको सपना छैन । त्यहाँ क्षमता छैन । तर तेस्रो पुस्ता ? अपेक्षा गरौं, योसँग सम्भावना छ । अतः यो पुस्ताले नयाँ सुरुवात गर्न सक्छ । उसले नयाँ प्रश्नहरू गर्न सक्छ । उसले नयाँ ढंगले सोच्न र सपना देख्न सक्छ । त्यसैले पहिलो र दोस्रो पुस्ताका दाजैहरूलाई अनुरोध छ, सत्ताको लोभ पापी चीज होÙ यो जुनीमा पुग्यो । अब तपाईं निवृत्त हुनुहोस् र आराम गर्नुहोस् । यो नयाँ पुस्तालाई आशीर्वाद दिने समय हो ।
र, तेस्रो पुस्तालाई अनुरोध छ— युवा साथीहरू, लौ समय भयो । मोर्चा सम्हाल ।

दृष्टिकोण

संघीय संरचनामा स्वास्थ्य कार्यालय

- सुमित्रा खड्का

आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनुलाई संविधानले नागरिकको मौलिक हकका रूपमा व्याख्या गरेको छ । उक्त हक सुनिश्चित, स्वास्थ्य सेवा प्रवाह तथा व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तह छन् । आधारभूत स्वास्थ्य सेवा प्रवाहको सुनिश्चिता गर्दै स्थानीयस्तरका स्वास्थ्य नीति, कानुन, सेवाको गुणस्तर र योजना नियमन गर्ने एकल अधिकार स्थानीय तहलाई छ । यस्तो व्यवस्थाले सेवाको तयारीलाई मात्र संकेत गर्छ, काम गर्न भने बाँकी नै छ ।
राष्ट्रिय स्वास्थ्य नीति, २०४८ लागू भएपछि नेपालमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाको तीव्र विकास भयो । नाफामूलक स्वास्थ्य क्षेत्रलाई सेवामूलक बनाउने उद्देश्यसहित राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ल्याइयो । यस्ता नीति आए पनि आम नागरिक निजी स्वास्थ्य संस्थाहरूलाई महँगो शुल्क तिर्न बाध्य छन् । दुर्गम भेगका बालबालिका र प्रजनन समूहका महिलालाई अझै पर्याप्त पोषण पुर्‍याउन सकिएको छैन । दुर्गम भेगका स्थानीय तहमा औषधि भण्डारणका लागि आवश्यक पूर्वाधारको व्यवस्था अझै भइनसकेकाले सामान्य औषधिको पनि अभाव हुने गरेको छ । निश्चित कार्यतालिका तथा कार्यसूचीअनुसार तहगत रूपमा औषधि र प्रविधिजन्य स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने अपरिहार्य नियम भए पनि सम्बन्धित निकायले पालना गरेका छैनन् । कार्य क्षेत्रबारे स्पष्ट खाकासमेत तयार भएको छैन । भएकामा पनि कार्यान्वयन हुन सकिरहेको छैन । यस्तोमा स्वास्थ्य कार्यालयको भूमिका झनै बढेको छ ।

स्वास्थ्य कार्यालयको भूमिका
स्वास्थ्य कार्यालयले जिल्लाभित्र प्रदेश र स्थानीय तहको प्रमुख समन्वय निकायका रूपमा काम गर्छ । प्रदेशको निर्देशनअनुसार विभिन्न स्वास्थ्य कार्यक्रमहरू कार्यान्वयन गर्छ । विपद् तथा महामारीमा संघको प्रत्येक्ष निर्देशनलाई समेत अनुसरण गरी आकस्मिक कार्यक्रमहरू कार्यान्वयन गर्छन् । खोप, औषधि तथा स्वास्थ्य सामग्री भण्डारण तथा वितरणमा यसले विशेष काम गर्छ ।
पछिल्लो समय कोभिड महामारी नियन्त्रण तथा रोकथाम गर्नका लागि स्वास्थ्य कार्यालयले समुदायस्तरमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, परिवार योजना, मातृ नवजात शिशु तथा बाल स्वास्थ्य, सामाजिक सुरक्षा, बिमा, पोषणलगायत कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँग मिलेर तालिम एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । स्वास्थ्य सेवाको पहुँच तथा उपभोग वृद्धि गर्न विभिन्न सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूसँग हातेमालो गर्दै स्वास्थ्यका योजना बनाउने, तिनको कार्यान्वयनमा सहजीकरण गर्ने, सो स्वास्थ्य संस्थाबाट सञ्चालित कार्यक्रमहरूको नियमित अनुगमन, सुपरिवेक्षण र सेवाप्रवाहको गुणस्तर वृद्धि एवं मापन गर्ने जिम्मेवारीसमेत अहिलेको सीमित जनशक्तिबाट यथाशक्य सम्पादन भइरहेको छ ।
स्वास्थ्य कार्यालयहरूले भौगोलिक आवश्यकता, जनसंख्या तथा संघीय संरचनाअनुरूप स्वास्थ्य सेवालाई थप गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन दक्ष जनशक्तिको परिचालनका लागि सम्बन्धित निकायलाई उत्प्रेरित गर्छ । नवजात शिशु, बाल तथा मातृ स्वास्थ्य सुधारका लागि सुरक्षित मातृत्व तथा पोषण सुधारात्मक कार्यक्रमहरूको सञ्चालनमा थप सुदृढीकरण गर्न स्वास्थ्य कार्यालयले समन्वयको कार्य गरिरहेको छ ।

सुधारका ठाउँ
संघीयताका विभिन्न उद्देश्यमध्ये एउटा हो— स्वास्थ्यलगायत अन्य सामाजिक सेवालाई समुदायमा विस्तार गर्नु । तर पूर्वाधार व्यवस्थापन अपेक्षा गरेभन्दा निकै सुस्त गतिमा भएकाले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच बढाउन सकिएको छैन । स्वास्थ्य संस्थाहरूले सेवा उपभोगलाई गुणस्तरीय बनाउन सकेका छैनन् । स्वास्थ्य कार्यालयको नियमित अनुगमन र सुपरिवेक्षण अपेक्षा गरेअनुरूप प्रभावकारी छैन । संघीयताले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी पर्याप्त स्रोतसाधनको विनियोजन गरेको छ । तर, त्यसको उपभोगबाट नागरिक वञ्चित छन् । स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूमा औषधिसहित स्वास्थ्य सामग्रीहरूको उपलब्धता, तिनको अनिवार्य र नियमित प्रयोग तथा सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयहरूले समन्वय र सहयोग गर्नुपर्छ । यस्ता सहयोगलाई नियमित तथा कार्यमूलक बनाउन पनि जरुरी छ । यसका लागि स्थानीय तहका स्वास्थ्य शाखाप्रमुख र स्वास्थ्य कार्यालयबीच मासिक समन्वय बैठक गर्नु आवश्यक छ ।
कोभिडले निम्त्याएको विषम परिस्थितिको सामनासँगै जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरू समाधान गर्न स्वास्थ्य कार्यालयलाई कार्यमूलक अनुसन्धानमा आबद्ध गरी, वैज्ञानिक तथा सहभागितामूलक पद्धति अवलम्बन गर्नु जरुरी छ । संघीय तथा प्रादेशिक निकायबाट जारी नीतिनियम तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य कार्यालयको वर्तमान संगठन, दरबन्दी र जिम्मेवारीलाई समयानुकूल बनाउनुपर्छ । मानसिक तनाव, श्वास–प्रश्वास तथा छालासम्बन्धी रोग आदि स्वास्थ्य समस्याको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयहरूले व्यवसायीहरूका कार्यस्थलको नियमित अनुगमन गर्ने संयन्त्रको विकास गर्नुपर्छ । साथै आफ्नै पनि क्षमता विकास गर्न ढिला भइसक्यो ।
एकातिर सीमित स्रोतसाधनका कारण स्वास्थ्य क्षेत्रमा सुधार तथा विकास गर्न सकिएको छैन, अर्कातिर भएका स्रोतसाधनको पनि विभिन्न प्राविधिक तथा प्रशासनिक समस्याका कारण प्रभावकारी प्रयोग हुन सकेको छैन । कर्मचारी उत्तरदायी नहुनु, कार्यक्रम कार्यान्वयन तथा व्यवस्थापनमा कर्मचारीलाई सीपमूलक तालिमको अभाव हुनु, कार्यक्रमको अवस्था र सञ्चालन प्रक्रियाको अनुगमन कमजोर हुनु र भूगोल, जनसांख्यिक र आवश्यकताअनुसार योग्यताप्राप्त सीपमिश्रित दक्ष कर्मचारीको सीमित दरबन्दीले पनि थप चुनौती सिर्जना गरेको छ । बेलाबखत भइरहने राजनीतिक अस्थिरताका कारण गुणस्तरीय स्वास्थ्यको व्यवस्थापन गर्न स्वास्थ्य कार्यालयलाई निकै कठिनाइ भइरहेको छ । स्वास्थ्य कार्यालयले गर्न सक्ने प्राविधिक सहयोग र व्यवहार परिवर्तनका परियोजनाहरू संस्थागत निर्णय नभएकै कारण कार्यान्वयन हुन नसकी बर्सेनि कार्यक्रम फ्रिज भएका उदाहरण पनि प्रशस्तै छन् ।
समग्रमा, संघीय संरचनाअनुरूप स्वास्थ्य कार्यालयलाई थप जिम्मेवारीका साथ परिचालन गर्नुपर्छ । साथै स्वास्थ्यका कर्मचारीहरूलाई क्षमता र दक्षताका आधारमा परिचालन गर्नुपर्छ । आवश्यक स्रोतसाधन विनियोजन गरी सांगठनिक सुधार ल्याउन सके स्वास्थ्य कार्यालयको भूमिका अझ प्रभावकारी हुन्छ ।
खड्का स्वास्थ्य कार्यालय, नुवाकोटकी जनस्वास्थ्य अधिकृत हुन् ।

दृष्टिकोण

जलीय जीवमा विषादी–संकट

- प्रवेशसिंह कुँवर

 

विषादी यस्तो वस्तु हो, जसको प्रयोग हानिकारक जीवहरूको नियन्त्रण वा विनाश गर्नका लागि गर्ने गरिन्छ । कृषि बाली जोगाउनका लागि ईसापूर्व २००० भन्दा अगाडिदेखि नै विषादीको प्रयोग हुँदै आएको छ । कीट नियन्त्रणका लागि विषाक्त वनस्पतिको प्रयोगबारे ऋग्वेदमा समेत उल्लेख छ (इन.विकिपेडिया.ओआरजी/विकी/
पेस्टिसाइड) । वैज्ञानिक लेखहरूमा उल्लेख भएबमोजिम सन् १९३० र ४० को दशकमा विभिन्न कृत्रिम विषादीहरूको उत्पत्तिसँगै विश्वभर यसको प्रयोग दिनानुदिन बढ्दै नै गयो (गार्सियालगायत, सन् २०१२) र यो क्रम हालसम्म चलिरहेकै छ ।
पाउल हर्मन मुलरले सन् १९३९ मा डीडीटी नामको रसायनलाई कीटनाशक विषादीका रूपमा पहिचान गरेका थिए जसका लागि उनलाई नोबेल पुरस्कारसमेत प्रदान गरिएको थियो (इन.विकिपेडिया.ओरजी/विकी/डीडीटी) । नेपालमा सन् १९५० को दशकमा मलेरिया उन्मूलन कार्यक्रमका लागि सर्वप्रथम डीडीटी र तत्पश्चात् गमेक्सिन र निकोटिन सल्फेटजस्ता विषादीहरू सोही उद्देश्यका लागि भित्र्याइएको देखिन्छ । विस्तारै नेपालमा अर्ग्यानो क्लोरिन, अर्ग्यानो फस्फेट र कार्बामेट समूहअन्तर्गत पर्ने विषादीहरू पनि भित्रिँदै गए (धिताललगायत, सन् २०१५) ।
संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनको डाटाबेसअनुसार, सन् १९९० देखि २०१८ सम्म करिब तीन दशकमा विश्वको कुल विषादी खपत २२,९९,९७९ टनबाट ४१,२२,३३४ टन पुगेको छ भने सोही अवधिमा नेपालमा यो परिमाण ६० टनबाट ५७४ टन पुगेको छ (एफएओएसटीएटी, २०२१) । यस प्रकार नेपालमा विषादी खपतको वृद्धिदर भयावह देखिन्छ । यद्यपि प्रतिएकाइ क्षेत्रफलमा विषादी प्रयोग विश्वको औसतका तुलनामा नेपालमा निकै कम छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनअनुसार नेपालमा दस प्रकारका विषादी १७० वटा साधारण नाम र ३,०३५ वटा व्यावसायिक नाममा दर्ता भएका छन् । सोही प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७४–७५ मा मात्र २२,७१,७३४ किलो परिमाणमा ८३,५७,८०,९६८ रुपैयाँ बराबरका विभिन्न विषादी नेपालमा आयात तथा फर्मुलेसन गरिएको पाइन्छ (चित्र १) ।
यसरी भित्रिने विषादीहरूमध्ये इन्सेक्टिसाइड समूहअन्तर्गतका विषादीहरूले सबैभन्दा बढी करिब ६६ प्रतिशत हिस्सा ओगटेका छन् भने फंगिसाइड र हर्बिसाइड क्रमशः दोस्रो र तेस्रो हिस्सा ओगट्ने विषादी हुन् । इन्सेक्टिसाइड वर्गका विषादीको प्रयोग मुख्य रूपमा कृषि क्षेत्रमै भएको देखिन्छ (चित्र २) ।
जनसंख्या वृद्धि र त्यसअनुरूपको बढ्दो खाद्यान्न मागका कारण कृषिको उत्पादन नबढाई नहुने चुनौतीले गर्दा पनि कीटनाशक विषादीको प्रयोगलाई विश्वभर बढावा दिन थालियो । शत्रु जीवहरूको नाश गर्न प्रयोग गरिने विषादीहरूले ठूला तथा सूक्ष्म मित्र जीवहरूलाई पनि बाँकी राख्ने कुरा भएन । विभिन्न अनुसन्धान प्रतिवेदनअनुसार, विषादीको ०.१ प्रतिशतभन्दा कम हिस्सा मात्र चाहेको शत्रु जीवसम्म पुग्ने र ९९.१ प्रतिशतभन्दा बढी भाग खुला वातावरणमा मिसिने हुन्छ (पिमेन्टल, १९९५) । यी विषादीहरू हावा तथा पानीका माध्यमबाट अन्ततोगत्वा खोला, तालतलैयासम्म पुग्छन् । पानीमा क्रमिक रूपमा विषादीको मात्रा थपिँदै जाँदा जलीय जीवहरू मर्नेसमेत गरेका प्रशस्त घटना पाइन्छन् । यी विषादीहरू पानीमा अत्यन्त न्यून मात्रामा हुँदासमेत नजानिँदो किसिमले प्राणी तथा वनस्पतिजन्य जलीय जीवहरूलाई नकारात्मक प्रभाव पार्न सक्ने अनुसन्धानले देखाएको छ ।
यस पंक्तिकारले गरेको अनुसन्धानमा नेपालमा अत्यधिक प्रयोगमा ल्याइने प्रमुख विषादीमध्ये क्लोर्पिरिफोस र डिक्लोर्भोस (नेपाल सरकारले सन् २०२१ देखि डिक्लोर्भोसको प्रयोगलाई प्रतिबन्धित गरिसकेको छ) जस्ता विषादीहरू माछाका लागि अत्यन्त हानिकारक पाइएको छ । थप अनुसन्धानका क्रममा क्लोर्पिरिफोस नामक विषादी तुलनात्मक रूपले बढी हानिकारक रहेको पाइयो । यी विषादीहरूको अत्यन्त न्यून मात्रा, ०.०७ मिलिग्राम क्लोर्पिरिफोस र १.२ मिलिग्राम डिक्लोर्भोसले पनि सामाजिक–आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको नेपालको स्थानीय जातको माछा सहरलाई प्रभाव पारेको अन्तर्राष्ट्रिय जर्नल ‘कम्प्यारेटिभ बायोकेमिस्ट्री एन्ड फिजियोलोजी, पार्ट सी’ मा हालै प्रकाशित एउटा लेखमा उल्लेख छ । अध्ययन प्रतिवेदन अनुसार, विषादीका कारण माछामा श्वासप्रश्वास प्रक्रियामा समस्या, शरीरलाई सन्तुलन कायम राख्न सक्ने क्षमतामा कमी, खानामा अरुचि, समूहमा पौडिने व्यवहारमा ह्रास, शारीरिक क्रियाकलापमा सुस्तता र अत्यधिक तनावजस्ता लक्षणहरू देखिन्छन् । विषादीको नकारात्मक प्रभावका संकेतहरू माछाको रगत परीक्षणमा समेत भेटिएको थियो । सोही अनुसन्धान टोलीले कमन कार्प र इन्डिजिनस मेजर कार्प, नैनी जातका माछामा समेत त्यस्तै असरहरू देखिएको उल्लेख गरेको छ । यस प्रकारका अनुसन्धानबाट माछाजस्ता जलीय जीवहरू विषादीको न्यून मात्रामै भए पनि निरन्तर सम्पर्कमा आइरहँदा तिनको प्रजनन क्षमतामा समेत प्रभाव परी तिनका प्रजाति नै लोप हुन सक्ने देखिएको छ ।
विषादीको प्रयोगले तत्कालका लागि कृषि उत्पादन वृद्धि गराउने सकारात्मक पक्ष देखिए पनि दीर्घकालीन रूपमा यसले मानव स्वास्थ्यका साथै जलीय जैविक विविधतालाई जोखिममा पारिराखेको यथार्थलाई नकार्न सकिँदैन । तसर्थ नीतिनिर्माता तहमा जिम्मेवारी वहन गर्नेहरूले जथाभावी विषादी प्रयोगमा रोक लगाउनु, पानीको गुणस्तर मापदण्डमा समयानुकूल सुधार गरी नियमनकारी भूमिका खेल्नु, कृषि तथा अन्य क्षेत्रमा विषादी प्रयोगका वैकल्पिक उपायहरूको अनुसन्धान र तिनको प्रभावकारिता अध्ययन गर्नु अत्यन्त आवश्यक छ ।
कुँवर प्राणीशास्त्र केन्द्रीय विभाग, त्रिविका शोधार्थी हुन् ।

Page 11
समाचार

हुम्ला सीमाबारे परराष्ट्रलाई गृहको पत्र

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले पछिल्लो पटक सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्रसम्बन्धी अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सुझावका आधारमा परराष्ट्रलाई पत्र पठाएको हो । गृहका सहप्रवक्ता दिलकुमार तामाङले समितिले दिएको सुझावका आधारमा सोमबार पत्र पठाइएको जानकारी दिए । गृहले पत्रका साथै समितिले तयार पारेको प्रतिवेदन पनि परराष्ट्रमा पठाएको छ । स्रोतका अनुसार सीमा क्षेत्रमा उब्जेका केही विषयमा द्विपक्षीय सहकार्यमार्फत समाधान गर्न समितिले सुझाव दिएको छ ।
समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए । भदौ २५ मा स्थलगत अध्ययनका लागि हुम्ला गएको टोली असोज २ गते काठमाडौं फर्किएको थियो ।

ॅचीन–नेपाल सीमा विवाद छैन’
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सीमामा विवाद नरहेको बताएकी छन् । दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा मंगलबार दिउँसो ट्वीट गर्दै उनले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएको उल्लेख गरेकी हुन् । ‘आजकै दिन ६० वर्षअघि मित्रवत् वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसबेलादेखि नै हामी (चीन–नेपाल) बीच सीमासम्बन्धी कुनै विवाद छैन र यो नै मित्रताको आधार तथा आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छ,’ उनले ट्वीटरमा लेखेकी छन् ।
यसैबीच, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राजदूत होउबीच मंगलबार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा कानुनमन्त्री कार्कीले राजदूत होउलाई नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिने बताएका थिए ।

समाचार

नेदरल्यान्ड्सका महावाणिज्यदूतमा नेपाली

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपालका लागि नेदरल्यान्ड्स अधिराज्यका अवैतनिक वाणिज्यदूतमा अधिकारकर्मी दीपकराज सापकोटा नियुक्त भएका छन् ।
नेदरल्यान्ड्सका राजा विलेम अलेक्जेन्डरले सापकोटालाई गरेको नियुक्तिलाई
नेपाल सरकारले आइतबार स्वीकृति प्रदान गरेको थियो । महावाणिज्यदूतका रूपमा उनको अवैतनिक सेवा अवधि चार वर्षका लागि हुनेछ । दुई देशबीच सामाजिक र सांस्कृतिक तहमा सम्बन्ध बढाउनका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त गर्ने कूटनीतिक चलन छ । नेपाल र नेदरल्यान्ड्सबीच बीच २ अप्रिल १९६० इस्वी संवत्मै कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

समाचार

सीमामा सहकार्य गर्न सहमत

- राजेश मिश्र

(नयाँ दिल्ली) - सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौतीको सामना मिलेर गर्ने सहमति भएको छ । नेपाल–भारत सीमामा खटिने दुवै सुरक्षा निकायका प्रमुखहरूबीच मंगलबार नयाँदिल्लीमा छलफल भएको थियो । स्थानीय तहदेखि केन्द्रसम्म सूचना आदानप्रदान बढाउने, अपराध नियन्त्रणका लागि समयमै सूचना पठाउने, सबै तहका अधिकारीबीच बैठक र छलफल बढाउने लगायतका विषय बैठकमा उठेका थिए ।
खुला सीमाका कारण तेस्रो मुलुकका आपराधिक प्रवृत्तिका मानिस नेपाल हुँदै भारत प्रवेश गर्न सक्नेप्रति भारतीय अधिकारीको बढी चासो थियो । अफगानिस्तानमा तालिबानको नियन्त्रणसँगै भारत आफ्नो आन्तरिक सुरक्षालाई लिएर थप सशंकित बनेको छ । त्यस्तै, भारततर्फबाट प्रवेश गरेर नेपालको आन्तरिक सुरक्षामा समस्या पार्ने व्यक्तिबारे नेपाल पक्षले चासो प्रकट गरेको छ । दुई देशका सीमा सुरक्षामा खटिएका सुरक्षा बलको पाँचौं कोअर्डिनेसन बैठकको नेतृत्व नेपालबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले गरेका थिए । बैठक बिहीबार सकिनेछ ।
बैठकमा सहभागी दिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर आनन्दप्रसाद शर्माले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिलाई कसरी नियन्त्रण गर्ने र त्यसमा सहकार्य बढाउने विषयमा बैठक केन्द्रित रहेको बताए । अवैध तरिकाले गरिने मानव ओसारपसार, नक्कली नोट, लागूऔषध, तस्करी लगायतका अन्य अपराध नियन्त्रण गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
दुई देशबीच कतिपय स्थानमा देखिएको सीमा विवाद, एसएसबीको गलत व्यवहार, दार्चुलामा एसएसबीले तुइन काट्दा एक नेपाली महाकाली नदीमा बेपत्ता भएको लगायत विषयले भने बैठकमा प्रवेश पाएन । ‘आजको बैठक सुरक्षा चासोसँग मात्रै सम्बन्धित थियो,’ बैठकमा सहभागी एक नेपाली सुरक्षा अधिकारीले भने, ‘दुई देशको सरकार, परराष्ट्र मन्त्रालय वा राजनीतिक तहबाट हुने वा भइरहेको संवादमा हामी प्रवेश गरेनौं ।’
सशस्त्र प्रहरी र एसएसबीबीच बर्सेनि नियमित यस्तो बैठक हुँदै आएको छ । आलोपालो दुई देशमा हुँदै आएको यो बैठक गत वर्ष कोभिडका कारण रोकिएको थियो ।

समाचार

जो आफ्नै श्रीमान्बाट बेचिइन्

- लिला श्रेष्ठ

(काठमाडौं) - ‘एउटी कन्या केटी छ, बिहे गर्ने भए कुरा चलाउँछु,’ श्रीमान् फोनमा कुरा गरिरहेका थिए । ती व्यक्ति को थिए र श्रीमान्ले कुरा गरेको कन्या को थिइन् भन्ने भेउ उनले पाइनन् । खासै वास्ता पनि गरिनन् ।
त्यसको केही दिनपछि उनी नुवाकोटमा लाग्ने दुप्चेश्वर मेलामा गएकी थिइन् । त्यही बेला पासाङ तामाङ भन्ने व्यक्तिले उनलाई फोन गरे र दाइ (श्रीमान्) सँग कुरा
भएको बताउँदै भने, ‘तिमी यही मेलामा आएकी रहिछौ । म पनि यतै छु, भेटेर नै कुरा गरौं न ।’ बल्ल उनले थाहा पाइन्, केही दिनअघि श्रीमान्ले बिहेको कुरा गरेको ‘कन्या केटी’ त उनी आफैं पो रहिछन् । त्यो भेटमै पासाङले उनलाई विवाहको प्रस्ताव राखे ।
प्रेम विवाह गरी पाँच सन्तानकी आमा भइसकेकी थिइन् रीमा (परिवर्तित नाम) । परिवार राम्रैसँग चलिरहेको थियो । कान्छा छोरा ४ वर्ष पुगेपछि भने श्रीमान्सँग खटपट सुरु भयो । परिवारको वास्ता नगर्ने र घर खर्चसमेत नदिने भएपछि सम्बन्धमा चिसोपना बढ्दै गयो । यही खटपटीमा जोडिन आइपुगेका थिए, पासाङ । मेलामा भएको पहिलो भेटमै उनले फकाएर भनेका थिए, ‘राम्रोसँग पाल्छु, तिम्रो पहिलेको बूढालाई जार तिर्न परे पनि दिउँला । खुसीको जिन्दगी बिताउँला ।’ बिग्रँदो सम्बन्धको भासमा परेकी रीमा कुन भावावेशमा थिइन् कुन्नि, पासाङ बोलीमा फसिन् । रीमा सुनाउँछिन्, ‘त्यही दिन हामी विवाह गर्न नुवाकोटको घ्याङफेदी पुग्यौं ।’ यो थियो, २०७१ को मंसिरको घटना ।
पासाङको परिवारले सहमति जनाएपछि सिन्दूरपोते भयो । विवाहको तीन दिनपछि रीमालाई छोडेर पासाङ ट्रेकिङको काम गर्ने भन्दै काठमाडौं हिँडे । एक महिनापछि पासाङले सुनाए, ‘तिम्रो पहिलेको श्रीमान्लाई १ लाख ६० हजार रुपैयाँ जार खर्च बुझाएँ नि ।’ बिहेको ८ महिनापछि सँगै काम गर्न भन्दै उनलाई काठमाडौं बोलाए । रीमा बालाजु नयाँ बसपार्क झर्दा पासाङ आफैं लिन आइपुगेका थिए । उनलाई सिधै नजिकैको एक होटलमा लगे । होटलकी एक महिलालाई देखाउँदै भने, ‘दिदीसँग बस्दै गर्नु, एकछिनमा आउँछु ।’ त्यति भनेर निस्केका पासाङ तीन दिनसम्म फर्केनन् । उनको मोबाइल पनि स्विच अफ भयो । पासाङले दिदी भनेर चिनाएकी महिलाले रीमालाई तामाङ थरकै पुरुषसँग चिनाइदिइन् । ती पुरुषले उनलाई मासिक १० हजार तलब पाउने गरी घरायसी काममा लगाइदिने वाचा गरे ।
ती पुरुषले उनलाई आफ्नो कोठामा लगेर श्रीमती–छोराछोरीसँगै तीन दिन राखे । काममा जाने भन्दै एक दिन सुनौली नाका हुँदै ट्रेनमा भारतको नयाँदिल्लीस्थित ‘दिदी’ भन्ने म्हेन्दो तामाङको घर पुर्‍याए । तीन दिनपछि उनी फर्किए । म्हेन्दोले रीमालाई आग्रा पुर्‍याइन् । उनी जुन घर पुगिन्, त्यहाँ उनकै उमेरका अरू केटीहरू पनि थिए । तीमध्ये एक जनाले उनलाई सुनाइन्, ‘यहाँ त यौनजन्य कार्य गर्नुपर्छ, तिमी बेचियौ ।’ त्यसपछि झसंग भइन् । बल्ल आफू बेचिएको पक्का भयो ।
त्यसपछिका दिन उनले यौन अखडामा नारकीय दैनिकी बिताउनुपर्‍यो । ‘मैले यस्तो काम गर्दिनँ भन्दा मलाई शारीरिक र मानसिक यातना दिन्थे । त्यस्तो काम नगरेको दिन खाना नै दिँदैनथे,’ उनले भनिन्, ‘झन्डै ८ महिना काम गरेपछि मलाई अर्को ठाउँमा बेचिदिए ।’ रीमा फेरि बेचिएर दिल्लीको जीबी रोडस्थित ६४ नम्बरको कोठीमा पुगिन् । त्यो उनै म्हेन्दोको अखडा थियो । ठाउँ फेरिए पनि उनले गर्नुपर्ने काम उही थियो । ‘मैले एक दिनमा १५ जनाभन्दा धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्नुपर्थ्यो,’
उनले सुनाइन्, ‘एक जनासँग सुतेबापत पाउने ३५० भारु पनि उनीहरूले नै लिन्थे ।’
पटक–पटक विभिन्न ठाउँमा बेचिएर नारकीय जीवन बिताइरहेकी उनलाई २०७८ जेठ १८ गते भारतको स्थानीय प्रहरी र क्याटलिस्ट नामक संस्थाले दिल्लीस्थित कोठीमा छापा हानेर उद्धार गर्‍यो । दिल्लीस्थित नेपाली दूतावास र शक्ति समूहको सहयोगमा २०७८ जेठ ३१ गते उनी नेपाल आइन् । उनैले भदौ १ मा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले उनका पहिलो श्रीमान् र दोस्रो श्रीमान् पासाङ तामाङ पक्राउ परेका छन् । ‘दुवैलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर मुद्दामा म्याद थपेर अनुसन्धान गरिरहेका छौं,’ ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीले भने, ‘यही घटनाका अन्य फरार प्रतिवादीहरूको खोजी पनि जारी राखेका छौं ।’

Page 12
समाचार

दलीयकरणको दलदलमा दलितका मुद्दा

- पर्वत पोर्तेल

(झापा) - रुकुम पश्चिमको चौरजहारीमा २०७७ जेठ १० मा नवराज विकसहित ६ युवकको हत्या भयो । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोटका नवराज र उनका साथीलाई गैरदलित केटी पक्षले कुटीकुटी भेरी नदीमा बगाइदिएका थिए । यस घटनाबारे अदालतमा मुद्दा चलिरहेको छ । तर निसाफ कहिले हुन्छ भन्ने टुंगो छैन । न्याय प्राप्तिमा विलम्ब भएपछि अधिकारकर्मी गुहार्न केही महिना पहिले काठमाडौं आएका नवराजका आफन्तले आक्रोश पोखे, ‘हामीलाई जे गरियो, अब हामीले पनि अपराधीलाई त्यसै गरेर सजाय दिन बाध्य बनाउन खोजेको हो राज्यले ?’
जे नहुनुपर्थ्यो, त्यो भइसक्यो । तर जसरी न्याय हुनुपर्थ्यो, त्यो पनि हुन सकेन । किन त ?
अधिकारकर्मी, वकिल र समाज विज्ञानी सबैको उही राय छ, ‘समाजका सबै क्षेत्रझैं न्यायालय पनि जात व्यवस्थाको प्रभावबाट मुक्त छैन । न्यायालय पुगेका धेरैजसो जातीय उत्पीडनसम्बन्धी मुद्दाको फैसला पीडितको विपक्षमा आउँछ । त्यसमाथि रुकुम घटनाको चरम दलीयकरण भइसकेको छ ।’

दलको जात हेर्न रुकुम जानु !
चौरजहारी नगरपालिका–८ सोतीमा भएको सामूहिक हत्याको राजनीतीकरणमा स्थानीयदेखि केन्द्रीय नेतासमेत संलग्न भए । रुकुम पश्चिमका सांसद तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसद् बैठकमा बोल्दै रुकुम घटनाका विषयमा भ्रमपूर्ण तथ्य छरे । माओवादी नेता शर्माले नवराज विकलगायतलाई कुटपिट नगरिएको दाबीमात्र गरेनन्, नदीमा हाम फाल्दा उनीहरूको मृत्यु भएको झूटो तर्क पनि गरे । शर्माको सक्रियता हत्याका आरोपित वडाध्यक्ष डम्बर मल्ललाई जोगाउन थियो । शर्मा मात्र होइन, उनका नातेदार चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा र कर्णाली प्रदेशका सांसद् गोपाल शर्मा पनि दोषीलाई उन्मुक्ति दिलाउन अग्रसर भए । यी दुवै माओवादी नेताको पहुँच पार्टीको केन्द्रसम्मै छ ।
दोषी जोगाउन शर्मा र रुकुमको स्थानीय माओवादी नेतृत्वले सक्रियता बढाएकामा तीव्र आलोचना भयो । चार दिनपछि जेठ १४ मा शर्माले विज्ञप्ति जारी गर्दै संसद्मा आफूले बोलेको कुरालाई तोडमोड गरिएको आरोप लगाए । उनको भनाइमा १८० डिग्रीको बदलाव आयो । उनले भने, ‘दलित जाति हुनुका कारणले घटना भएको र अझ प्रेमसम्बन्धसँग जोडिएकाले अझै अक्षम्य रहेको छ ।’ शर्माको निजी प्रस्टीकरण लोकलाज ढाक्नका लागि थियो, न्याय सुनिश्चित गर्न थिएन । उनले आफ्नो बोलीअनुसार व्यवहार नगर्नुले त्यसको पुष्टि भइसकेको छ ।
घटना भएको १५ महिना बितिसक्दा पनि पीडित भौंतारिइएका छन् । रुकुम घटनामा तत्कालीन नेकपाको आधिकारिक धारणा आएको थिएन । ‘अभियोग लागेका व्यक्तिलाई अन्तिम आदेश नआउन्जेल थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने विवाद उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेका कारण जिल्ला अदालतमा यो मुद्दामा थुनछेक आदेशपछिको सुनुवाइसमेत भएको छैन,’ रुकुमका पत्रकार प्रवीर डडेल भन्छन्, ‘घटना पूरै पार्टीकरण भयो, पीडित परिवारले न्याय पाउने सम्भावना न्यून छ ।’ उनका अनुसार पार्टीकरणका कारण सुरुदेखि नै घटनालाई गम्भीरतापूर्वक लिइएन । घटनास्थल सिल गरिएन । आरोपितलाई दुई दिनसम्म पक्राउ गरिएन । जसकारण दसी–प्रमाण नष्ट भए । उनीहरू पक्राउ त परे तर अनुसन्धानका लागि पर्याप्त प्रमाण जुटाउन नसक्दा आरोपितहरू क्रमशः छुटिरहेका छन् । मुख्य आरोपित भनिएकी केटीकी आमा पनि छुटिसकेकी छन् ।
सर्वोच्च अदालतले गत वैशाखमा रुकुम घटनामा संलग्न २३ जनालाई थुनामा राख्न, दुई जनालाई परिवारको जिम्मा लगाउन, एक जनालाई धरौटीमा छाड्न र तीन जनालाई साधारण तारिखमा छाड्न उच्च अदालतले गरेको आदेश सदर गरेको थियो । रुकुम जिल्ला अदालतका निमित्त स्रेस्तेदार लक्ष्मण विकले गत वैशाख १९ मा सर्वोच्चबाट मुद्दाको फाइल आइपुगेको जानकारी दिए । ‘तर, त्यसपछि कोभिड–१९ संक्रमणका कारण निषेधाज्ञा सुरु भएकाले यो मुद्दाको कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । अदालत नियमित सेवा खुम्च्याएर बसेको छ । यसमा कहिले टुंगो लाग्छ, भन्न सकिन्न,’ उनले भने ।
अधिवक्ता प्रकाश नेपालीले जातीय विभेदका घटनालाई दलीयकरण गरिने गलत परिपाटी मौलाउँदै गएको बताए । पार्टीकरणको असर जाहेरी दर्तामा मात्रै नभई अनुसन्धानको प्रक्रियासम्मै पर्ने उनी बताउँछन् । ‘जब छुवाछूतको मुद्दामा पार्टीकरण हुन्छ, तब बुझ्नुपर्छ, पीडितले न्याय पाउने सम्भावना लगभग टर्‍यो,’ उनले भने । रुकुम घटनाको दलीयकरण गर्ने सांसद शर्मालाई अहिले अर्थमन्त्री बनाइएकामा दलित संघसंस्थाले आलोचना गर्नुको कारण पनि यही हो । नवराज विकको परिवार एमाले हो भने गैरदलित युवतीको परिवारचाहिँ माओवादी ।

राजधानीमा जातकै राज !
कोरोना महामारीको दोस्रो लहरको सुरुवाततिर राजधानीको मध्यभाग बबरमहललाई विभेदको घटनाले ततायो । सञ्चारकर्मी रूपा सुनार डेरा खोज्दै सरस्वती श्रेष्ठको घर पुगेकी थिइन् । घरबेटी श्रेष्ठले रूपाको जात थाहा पाएपछि डेरा दिन इन्कार गरिन् । रूपाले आफूमाथि गरिएको जातीय विभेदविरुद्ध जाहेरी दिइन् । असार ६ मा श्रेष्ठ पक्राउ परिन् । धरौटीमा छुटेकी आरोपित लिन गत असार ९ मा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ झन्डावाल गाडी लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगे । मन्त्रीले आरोपित श्रेष्ठलाई आफ्नै गाडीमा राखेर घर पुर्‍याएको घटनाको सर्वत्र आलोचना भयो ।
छुवाछूतजस्तो गम्भीर सामाजिक अपराधमा संलग्नलाई छुटाउन गई अनुसन्धान अधिकारीलाई प्रभावमा पारेको भन्दै तत्कालीन शिक्षामन्त्रीको भूमिकाको तीव्र आलोचना भयो । आलोचना मत्थर पार्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्ति दिए, ‘कोही कसैले जातीय भेदभाव नगर्न र आरोपितलाई संरक्षण नगर्न चेतावनी दिन्छु ।’ प्रधानमन्त्रीले बोलीअनुसार कुनै ठोस कदम चालेनन् । अधिवक्ता श्याम विश्वकर्माले यो घटनालाई दलीयकरणसँगै जातीकरण गरिएको जनाए । उनले भने, ‘प्रधानमन्त्रीले गम्भीर रूपमा लिएको भए मन्त्रीलाई बर्खास्त गर्न सक्नुपर्थ्यो तर भएन ।’
रूपा सुनार वैज्ञानिक समाजवादी पार्टीसम्बद्ध भएकी कारण सो दलले न्यायका निम्ति सक्रियता देखाउनु अनौठो होइन । तर, रूपाले नियोजित रूपमा नेवार समुदायको बदनामी गर्न खोजेको आरोप लगाएर समुदायबीच वैमनस्य बढाउने काममा केही समूह सक्रिय भए । ‘रूपा सुनार घटना दलित भर्सेज नेवारजस्तो देखियो,’ विश्वकर्माले थपे, ‘समग्र समाज जातका आधारमा विभक्त भयो, विभेदलाई टेको लगाउने काम भयो ।’ सुनारले भोगेको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी पर्‍यो । तत्कालीन मन्त्री श्रेष्ठसँग आयोगले असार १६ मा स्पष्टीकरण सोध्यो । श्रेष्ठले औपचारिक स्पष्टीकरणमा भूल भएको स्विकारे ।
सर्वोच्च अदालतले शिक्षामन्त्रीबाट पदमुक्त भएपछि असार ३१ मा श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको थियो । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध सञ्चारकर्मी सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र प्रहरी वृत्त सिंहदरबारलाई आदेश दियो ।
सुनारले जातीय विभेदको मुद्दामा सिंगो राज्य नै दलित समुदायको विपक्षमा रहेको सुनाइन् । उनको अनुभवमा, देशभरि जातीय विभेदका घटना बढ्दै जाने, पीडितले न्याय माग्दै जाने तर राजनीतिक दल र प्रशासनले पीडितलाई न्यायबाट वञ्चित गर्दै जाने परिपाटी मौलाएको छ । ‘सामाजिक न्यायका मुद्दामा सबै दलले पीडितका पक्षमा बोल्नुपर्ने र न्याय दिनुपर्ने हो,’ उनले थपिन्, ‘तर, दलितका मुद्दालाई पार्टीकरण गरेर पीडितलाई झन् पीडित बनाएर छाडिन्छ ।’ काठमाडौं जिल्ला अदालतले असोज ६ मा सुनारमाथि कोठा भाडामा लिन जाँदा जातीय विभेद भएको ठहर गरी घरबेटी सरस्वती श्रेष्ठलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो ।
लेखक तथा विश्लेषक राजेन्द्र महर्जनका अनुसार दलितका मुद्दालाई राजनीतीकरण गर्नुपर्नेमा दलीयकरण हाबी भइरहेको छ । ‘अधिकांश दलित संस्था दलको मुट्ठीका माखोजस्तै छन्,’ उनले भने, ‘दलपतिहरूका आदेश, निर्देश र संकेतबिना ती संस्थालाई दलितका जल्दाबल्दा मुद्दामा वक्तव्यसमेत दिन कठिन छ, यसको राजनीतीकरण र सिंगो आन्दोलनका रूपमा विस्तार त टाढाको कुरा भयो ।’ महर्जनले नाफाघाटा मात्रै हेर्ने दलहरूको अंकुशबिनाको स्वायत्त दलित आन्दोलन र गैरदलितहरूसँगको सहकार्यले मात्रै दलितका मुद्दाको व्यापक राजनीतीकरण र मुक्तिको अगुवाइलाई सहज पार्न सक्ने दाबी गरे ।
इलाम माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले आफ्नै बुबाको लास हेर्नसमेत पाइनन् । गत वर्ष साउन १९ मा उनका बुबा चन्द्रप्रसाद आचार्यको मृत्यु भएको थियो । छिमेकी रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकै कारण १२ वर्षदेखि यामकला माइतीबाट बहिष्कृत थिइन् । ‘बुबाको अन्तिम पटक मुख हेर्छु भनेर घर गएँ तर आफन्तले आँगन टेक्न दिएनन्,’ यामकलाले गुनासो गरिन् । अन्तिम संस्कारमा भाग लिन नदिएपछि उनले भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगालविरुद्ध प्रहरीमा उजुरी दिइन् । भदौ ५ मा उनीहरूलाई जातीय छुवाछूतको अभियोगमा पक्राउ गरियो । घटनालाई ढाकछोप गर्न यामकलाकी कान्छी काकी विष्णुमाया रिमालले ठूलो भूमिका खेलिन् । तत्कालीन एमालेबाट निर्वाचित माई नगरपालिकाकी उपप्रमुख उनी न्यायिक समितिकी संयोजक पनि हुन् । ‘काकी त कम्युनिस्ट पार्टीकी नेता पनि हुन् । कम्युनिस्टहरू जातपात मान्दैनन् भन्दै हिँड्थे, तर तिनैबाट म अन्यायमा परें,’ यामकलाले भनिन् ।
राजनीति र स्थानीय सरकारमा पहुँच भएको परिवारले पार्टी र सत्ताको बलमा मुद्दालाई किनारा लगाइदिए । पीडित पीडितै रहिन् । मुद्दा मिलाउन दलका नेता/कार्यकर्ता सरकारी अड्डा पुगे । साक्षीहरूलाई प्रभावमा पार्नेदेखि मुद्दा फिर्ता लिन यामकलालाई दबाबसमेत दिइयो । ‘अदालतमा बकपत्र दिन जानेलाई पनि धम्क्याइयो,’ उनले भनिन् । अभियुक्तलाई जिल्ला अदालत इलामले १५/१५ हजार धरौटीमा छाड्यो ।
जिउँदो हुँदा मात्र होइन, मरेपछि पनि दलितविरुद्ध विभेद हुने गरेको छ । यसैको उदाहरण हो, सम्बरबहादुर सुनारको शव । पोखरा–१६, चण्डिका टोलका सुनारको गत वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो । विदेशबाट बाकसमा आएको उनको शवको अन्तिम संस्कार गर्ने क्रममा स्थानीय क्षत्री समुदायले अवरोध पुर्‍यायो । स्थानीय सामुदायिक भवनमा काजकिरियाका लागि अनुरोध गर्दा क्षत्री समुदायले आफ्नो जातलाई बाहेकलाई दिन नमिल्ने र दलितलाई त झन् दिनै नसकिने भनेपछि विवाद भयो । गत वर्ष वैशाख १४ मा जातीय रूपमा विभेद भएको भन्दै सुनार परिवारले प्रहरीमा उजुरी दियो । तर, राजनीतिक दबाबका कारण उजुरी नै दर्ता हुन सकेन । यो मुद्दालाई कमजोर पार्न गण्डकी प्रदेशका एक एमाले सांसद् नै लागेका थिए । राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनपछि बल्ल वैशाख १९ मा प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढायो ।

जातले लियो दर्जनौं ज्यान
रूपन्देहीे देवदह–३ की दलित किशोरी अंगिरा पासीको २०७७ जेठ १० मा बलात्कारपछि हत्या भयो । १३ वर्षीया अंगिरालाई २५ वर्षीय युवा वीरेन्द्र भरसँग बस्ती नजिकको खोलामा स्थानीयले भेटेपछि जबर्जस्ती जिम्मा लगाए । तर, वीरेन्द्रको परिवारले अंगिरालाई बुहारीका रूपमा स्वीकार गरेन । त्यसपछि अंगिरा स्थानीय रोहिणी खोला नजिकै झुन्डिएको अवस्थामा फेला परिन् । परिवारले उनको बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेर दिएको थियो ।
धनुषाका दलित युवक शम्भु सदा २०७७ जेठ २८ मा प्रहरी हिरासतभित्र झुन्डिएको अवस्थामा भेटिए । यो घटनापछि कोरोनाको पर्वाह नगरी देशव्यापी आन्दोलन भयो । सदाले न्याय भने पाएनन् । सप्तरीको सुरुंगा नगरपालिका–७ पोखरियाकी ज्योति पासवानले २०७८ साउन २३ मा घरैमा आत्महत्या गरिन् । उनका प्रेमी कृष्ण मिश्राविरुद्ध उनका पिता प्रमोदले आत्महत्या दुरुत्साहनसम्बन्धी शीर्षकमा साउन २७ मा जाहेरी दर्ता गराए । कृष्णले ज्योतिलाई ललाइफकाई घरबाट भगाएर यौनशोषण गरी आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप परिवारको छ । सुरुंगा–७ पोखरियाका कृष्णले गत फागुन १० मा ज्योतिसँग अनौपचारिक बिहे गरेका थिए । दलित परिवारकी ज्योतिलाई घर भित्र्याए पनि कृष्णको परिवारले छोड्न दबाब दिएको थियो ।
झापाको कन्काई नगरपालिकामा गैरदलितको कुटाइबाट दार्जिलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माले ज्यान गुमाए । कमजोर आर्थिक हैसियतका बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत चैत २७ मा कुटपिट गरी हत्या गरेका थिए । दलित हत्याका घटना ह्वात्तै बढेपछि गत वर्ष दलित समुदाय र अधिकारका निम्ति लड्ने संघसंस्था आन्दोलित भए । प्रतिरोधको माहोल देशभर तातिएको र दलित अधिकारबारे बहस भइरहेका बेला २०७७ साउन ८ मा एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादे र उनका पति सुमनमाथि छिमेकी दुर्गा श्रेष्ठको परिवारले जात काढेर कुटपिट गर्‍यो ।
मोरङको उर्लाबारी–४ थापाडाँगीकी १२ वर्षीया बालिका फूलसरी मंग्रान्ती (सार्की) २०७७ भदौ २२ मा छिमेकी निर्मला श्रेष्ठबाट कुटिइन् । घरभित्र पसेको बहानामा उनी कुटिएकी थिइन् । बालिकाकी आफन्त दुर्गाकुमारी रोकाले भनिन्, ‘छिमेकी हुन्, उनीहरूकै घरको बाटो हिँड्नुपर्छ । बाटो हिँड्दा पनि जातकै कुरो निकालेर थुक्छन् ।’ हालसालै जुम्लाको सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढाले यातायात, खानेपानीलगायत विषयमा सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामाथि टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीलाई कुटपिट गरे । कैलालीका प्रकाश विश्वकर्मा र मालती रावलबीच अन्तरजातीय विवाह भएपछि मालतीका आफन्तले कुटपिट गर्दै जोडीलाई अलग्याए ।

औपचारिक तथ्यांकले देखाउँछ भयावह दृश्य
प्रहरीको तथ्यांकअनुसार प्रदेश–२ का आठ जिल्लामा दुई वर्षयता ६३ जना दलितको हत्या भइसकेको छ । तर, अधिकांश घटनाका दोषीलाई कारबाही भएको छैन । दलित अधिकारकर्मी भोला पासवान भन्छन्, ‘दोषीलाई कारबाही हुन नसक्नुको मूल कारण मुद्दालाई पार्टीकरण गरिनु हो ।’
राष्ट्रिय मानव अधिकार आयोगमा आर्थिक वर्ष २०७६/७७ मा जातीय विभेदका ४९ वटा उजुरी परेका छन् । कोरोनाकालको ५ महिने अवधिमा देशभर दलितमाथि ७ सय ५३ वटा ज्यादतीका घटना भएको जनाइएको छ । जसमा ३४ जना दलितको हत्या भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ अनुसार कोभिड–१९ को महामारी र बन्दाबन्दीको समयमा पनि दलित समुदायमाथि ६० भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भए । सबैभन्दा बढी जातीय विभेद ३१ प्रतिशत, कुटपिट र गाली बेइज्जती २० प्रतिशत, हत्या १५ प्रतिशत, भोक अभाव र कोभिड–१९ सँग सम्बन्धित विभेद क्रमशः १२, १२ प्रतिशत रहेको छ । त्यसैगरी दलित महिला तथा बालबालिका बलात्कारको घटना ७ प्रतिशत र सामाजिक सञ्जालमा विभेदका घटना ३ प्रतिशत भएको पाइएको छ ।
२०७६/७७ मा राष्ट्रिय दलित आयोगमा २५ वटा उजुरी परेका छन् । उजुरीको प्रकृतिअनुसार सबैभन्दा बढी जातीय भेदभाव तथा अपमान ३२, जातीय विभेद तथा कुटपिट २८, अन्तरजातीय प्रेम तथा विवाहका कारण हत्या १६, दलितको अधिकार सम्बन्धमा १२, सामाजिक विभेद, बलात्कार र हत्या सम्बन्धमा ८ र बसोबासका लागि बस्ती खतरामा रहेको सम्बन्धी ४ प्रतिशत उजुरी परेका छन् ।
दलित अधिकारका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था समता फाउन्डेसनका अनुसार कोरोनाकालका दुई वर्षभित्र जातीय आधारमै १८ दलितको हत्या भयो भने २७ दलितमाथि निर्घात कुटपिट भयो । १४ दलित महिलामाथि जबर्जस्ती करणी, ३ माथि करणी प्रयास भयो । अन्तरजातीय बिहे गर्दा ७ जनामाथि अवहेलना, अन्तरजातीय प्रेम गर्दा दुई जनामाथि अवहेलना भयो भने एक जनाको बलपूर्वक गर्भपतन गराइयो । ६ जनालाई आत्महत्या गर्न दुरुत्साहन गरियो । जातीय भेद्भाव तथा छुवाछूतका ३२ घटना दर्ता भए । वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतिले नेपालमा जातीय विभेद जबर्जस्त अवस्थामा छ भन्ने कुरा राजधानीको डेरा प्रकरणबाटै बुझ्न सकिने बताए । ‘सहर, बजारमा जातीय विभेद कम भयो भन्ने तर्क गलत छ,’ उनीले भने, ‘विभेद कम भएको होइन, रूप फेरिएको हो ।’

कानुनप्रति उदास राज्य
जातीय विभेद तथा छुवाछूत कसुर, सजाय ऐन २०६८ संशोधनपछिको जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐनमा जातीय गालीगलौजदेखि विभेद गर्ने आशयका अभिव्यक्ति दिए सजायको भागीदार हुने व्यवस्था छ । जातीय विभेद आशयका अभिव्यक्ति र अवहेलना भए मात्रै तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ । ‘तर, जातीय विभेदलाई सामान्य कमजोरी ठान्ने र यो विस्तारै ठीक हुन्छ भन्ने तर दलितमाथि अपराध गर्ने क्रम भने कहिल्यै नरोक्ने बरु बढाउँदै लैजाने क्रम द्रुत छ,’ समता फाउन्डेसनका कार्यकारी निर्देशक प्रदीप परियारले भने । उनका अनुसार जातीय विभेदका घटनामा संलग्नलाई कारबाही गर्न राज्ययन्त्र अहिले पनि उतिकै उदासीन छ । मुद्दा र उजुरी दर्ता गराउन सधैं आन्दोलन नै गर्नुपर्ने अवस्था छ । दबाब दिन नसकिएका ठाउँमा उजुरी गर्नसमेत हम्मे पर्छ ।
अधिवक्ता प्रकाश नेपालीका अनुसार छुवाछूत मुद्दामा प्रमाण जुटाउन समस्या हुने गरेको छ । छुवाछूत प्रत्यक्ष देख्न सकिँदैन, त्यसको ठोस प्रमाण हुँदैन । ‘प्रमाण नभएका भन्दै धेरै पीडितलाई न्यायबाट वञ्चित गरिएको छ,’ नेपालीले भने, ‘प्रमाणको भार प्रतिवादीमा रहने व्यवस्था यो ऐनमा हुनुपर्छ । न्यूनतम ३ वर्षसम्म कैद सजाय तोकेको छ । तर, कम्तीमा पनि ५ वर्ष जति सजाय हुनुपर्छ भन्ने हो ।’ क्षतिपूर्ति २ लाखसम्म भने पनि न्यूनतम आधार तोक्न जरुरी रहेको उनी बताउँछन् ।
समता फाउन्डेसनका अनुसार जातीय विभेद तथा छुवाछूत कसुरसम्बन्धी कानुन बनेको एक दशकमा जिल्ला अदातलमा ९१ वटा मुद्दा ठहर भएका छन्, जसमध्ये ८८ मुद्दाका पीडकले सफाइ पाएका छन् । उच्च अदालतमा ३१ वटामा कसुर ठहर हुँदा ७४ वटामा सफाइ दिइयो । सर्वोच्चमा २ ठहर र २ सफाइ भएको देखिन्छ । सरकारका पूर्वसचिव मानबहादुर विकले ऐन आए पनि त्यसअनुरूपका मुद्दा दर्ता नभएको जनाए । ऐन आएको १० वर्षमा ३ सय ४० मुद्दा मात्रै दर्ता भएका छन् । विकका अनुसार घटनाका पीडित मुद्दामा जान डराउँछन्, मुद्दा मामिला गरे पीडित दलितले उल्टै सास्ती खेप्नुपर्ने हुन सक्छ । ‘मुद्दा दर्ता गर्ने निकाय संवेदनशील बन्दैन, प्रहरीले अधिकांश मुद्दा दर्ता नगर्ने परिपाटीका कारण पनि ऐन प्रभावकारी भएन,’ उनले भने । मुद्दा हालेकै क्षणदेखि दबाब, धम्की, विस्थापन, नाकाबन्दी लगाइने आदि कारणले पीडा सहन नसकेर पीडितहरू मुद्दा दर्ता गर्नै डराउने गरेको उनले बताए ।
पूर्वसचिव विकले आफू प्रमुख जिल्ला अधिकारी हुँदाको अनुभव सुनाए, ‘प्रहरीमा पुगेपछि पनि मिलापत्र गराउने परिपाटी देखिन्छ । कानुन र संविधानले गम्भीर सामाजिक अपराधको मुद्दाका रूपमा परिभाषित गरिसकेको कुरामा मिलापत्र गर्नै मिल्दैन ।’ उनका अनुसार मिलापत्रमा जोड दिने दलका अगुवा धेरै हुन्छन्, उनीहरूको दबाबले कारबाही अघि बढ्दैन ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा संविधानले इंगित गरेअनुरूपको गम्भीर सामाजिक अपराधका रूपमा लिएर कसुरको मात्राअनुसार सजायको दायरा बढाएर कानुन बनाउनुपर्ने जरुरी औंल्याउँछन् । उनले भने, ‘कानुन कार्यान्वयन निकायले छुवाछूतलाई सामान्य कुरा ठान्ने प्रवृत्तिले पनि दलितले न्याय पाएका छैनन् ।’ कानुनले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनाको उजुरी गर्ने सरकारको निकाय नेपाल प्रहरीलाई तोकेको छ । तर, प्रहरीले यो मुद्दालाई गम्भीरतापूर्वक नलिने परिपाटी ज्युँका त्युँ छ ।

मुद्दा पाए दलीयकरण, नत्र चुपचाप
हरेक पार्टीमा गैरदलित र खासगरी उपल्लो भनिने जातका मान्छे हाबी छन् । दलितका मुद्दालाई दलीयकरण गरेर निष्प्रभावी बनाइदिने दलले आन्तरिक समिति र संयन्त्रहरूमा जात व्यवस्थाबारे कतिको विमर्श गर्छन् त ?
पूर्वमन्त्री मीन विश्वकर्माका अनुसार २००९ जेठ १० मा नेपाली कांग्रेसको पहिलो जनकपुर अधिवेशनमा जातपातको कुरा व्यापक उठ्यो । अधिवेशनले सर्वसम्मत रूपमा कांग्रेसमा आबद्ध सदस्यले जातपात छुवाछूत नमान्ने/नगर्ने र कसैले मान्छ भने त्यसका विरुद्ध डटेर प्रतिवाद गर्ने निर्णय गर्‍यो । यो निर्णयबारे जिल्लामा सर्कुलरसमेत गरियो । ‘तर, पार्टीमा आबद्ध धेरैले छुवाछूत मात्रै मान्दैनन्, यो जघन्य अपराधलाई ढाकछोप गर्न र दोषीलाई उन्मुक्ति दिन अग्रसर बन्छन्,’ पूर्वमन्त्री विश्वकर्माले भने । विश्वकर्मासम्बद्ध पार्टीले दलन र जात व्यवस्थालाई मुख्य मुद्दाका रूपमा छलफल चलाउँदैन । दलित नेताकै चासोमा सामान्य औपचारिक कार्यक्रम भए मात्र, नत्र खास विमर्श हुँदैन ।
कम्युनिस्ट ब्यानर भएका पार्टीको अवस्था पनि त्यति फरक छैन । जात व्यवस्था निमिट्यान्न पार्ने न अभियान छ, न दलित आन्दोलनमा यी पार्टीको सिंगो पंक्ति सरिक नै देखिन्छ । छिटफुट भाषण गर्न नेता तयार भए पनि खास विषय र सन्दर्भमा पछि हट्छन् ।

(साथमा चिरञ्जीवी घिमिरे र सञ्जिता देवकोटा, नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क)

समाचार

‘दलीयकरण हाबी’

- कान्तिपुर संवाददाता

राजेन्द्र महर्जन
विश्लेषक

दलितका मुद्दालाई राजनीतीकरण गर्नुपर्नेमा दलीयकरण हाबी भइरहेको छ, अधिकांश दलित संस्था दलको मुट्ठीका माखोजस्तै छन् । दलपतिहरूका आदेश, निर्देश र संकेतबिना ती संस्थालाई दलितका जल्दाबल्दा मुद्दामा वक्तव्यसमेत दिन कठिन छ, यसको राजनीतीकरण र सिंगो आन्दोलनका रूपमा विस्तार त टाढाको कुरा भयो । नागरिक हस्तक्षेप बलियो र प्रभावकारी नहुँदासम्म राजनीतिक नाफाघाटाको खेल जारी रहन्छ । चाहे दलित होऊन् या गैरदलित, सबै नागरिकले दोषीलाई कारबाही, पीडितलाई न्यायका लागि, जाततन्त्र चलाउने राज्य र राजनीतिक दललाई फेर्नका लागि नागरिक हस्तक्षेप नगरी धरै छैन । राजनीतिक दलभित्र र बाहिर रूपान्तरणकारी संघर्ष जरुरी छ, रूपान्तरण नै नहुने निष्कर्षमा पुगेको खण्डमा नयाँ आन्दोलन गर्नु र नयाँ राजनीतिक दल बनाउनु आवश्यक हुन्छ । एउटा वर्ण, जात र लिंगको लगभग एकाधिकार भएको अदालतको संरचना आफैंमा न्यायिक छैन भने कसरी न्याय सम्भव होला ? अदालतलाई साँच्चै न्यायालय बनाउन अदालतको संरचना मात्रै हैन, न्यायाधीशहरूको चित्तको पुनःसंरचना हुनुपर्छ ।

समाचार

‘कम्युनिस्ट–कांग्रेस चुके’

- कान्तिपुर संवाददाता


कृष्ण खनाल
राजनीतिशास्त्री

दलितको समस्या कानुनी मात्र होइन, यो मूलतः विभेदकारी सामाजिक संस्कार र व्यवहार हो । अदालतले आफ्नै सुस्त प्रक्रियाबाट कानुनी उपचार त देला, त्यो वैयक्तिक हुन्छ, त्यसबाट दलित समस्या सम्बोधन हुन सक्तैन । यसका लागि प्रगतिशील एवं जबर्जस्त राजनीतिक र सामाजिक हस्तक्षेप चाहिन्छ, जुन राजनीतिक दलहरूबाट हुनुपर्ने हो । अहिलेका दल र नेतृत्वबाट त्यो सम्भव भएन, उनीहरू आफैंले गरेको परिवर्तनप्रति इमानदार भएनन् । फलाम तातेका बेला हान्नुपर्छ भन्ने भनाइ छ, अर्थात् परिवर्तनको नेतृत्व गरेको शक्तिले त्यसको रापताप भएका बेला हस्तक्षेप गर्ने हो । कांग्रेस, कम्युनिस्ट सबै चुकिसके । ०४८ सालमा नेपाली कांग्रेस चुक्यो । ०५१ सालमा एमाले र ०६५ सालमा माओवादी चुके । अहिलेको पार्टी नेतृत्व र संगठन संरचनामा म त्यस्तो आन्दोलनको कुनै सम्भावना देख्दिनँ । कांग्रेस, कम्युनिस्ट आइडोलोजीको ट्याग फालेर दलित समुदाय आफैं अग्रपंक्तिमा आउनुपर्छ । इजलासमा बस्ने एकाध न्यायाधीश अपवाद होलान् तर समाज परिवर्तनको मुद्दामा हाम्रो न्यायपालिका र प्रणाली सबैभन्दा रुढिवादी छ ।

Page 13
समाचार

चीनमा विद्यार्थी पठाउन फर्जी कागज

- सुदीप कैनी

(काठमाडौं) - नेपाल मेडिकल काउन्सिल र शैक्षिक परामर्श संघ (इक्यान) मा आबद्ध स्पिड इन्टरनेसनल कन्सल्टेन्सीले चीनस्थित डाली विश्वविद्यालयको एमबीबीएस भर्ना फाराममा फेरबदल गरी विद्यार्थीलाई पढ्न पठाएको पाइएको छ । विश्वविद्यालयको भर्ना फाराममा उल्लिखित प्रावधान फेरबदल गरी विद्यार्थी पठाउँदा सन् २०१५ देखि २०१९ ब्याचका एक सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययन पूरा गर्न नपाएर बिचल्लीमा परेका छन् । पीडित विद्यार्थीले आफ्ना समस्याबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, शिक्षा मन्त्रालय, काउन्सिल र चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका छन् ।
डाली विश्वविद्यालयमा ५ वर्ष सैद्धान्तिक र १ वर्ष इन्टर्नसिप कोर्ससहित ६ वर्षमा एमबीबीएस पूरा हुने व्यवस्था छ । काउन्सिलले भने २०१५ देखि चीनमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्ष छुट्टै भाषाकक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो अवधिसमेत जोड्दा ७ वर्ष हुन्छ ।
विद्यार्थीका अनुसार विश्वविद्यालयले ६ वर्ष अवधिको भर्ना फाराम पठाए पनि काउन्सिलको गरेको व्यवस्थाअनुसार स्पिड इन्टरनेसनलले ६ वर्षको अवधि हटाएर आफुखूसी ७ वर्ष बनाएको हो । ‘५ वर्ष सैद्धान्तिक कक्षा पढ्यौं,
त्यहीबीचमा भाषा कोर्स पनि पूरा गयौं, १ वर्षको इन्टर्नसिप मात्रै बाँकी छ,’ एक छात्रले भने, ‘सैद्धान्तिक कक्षाको ट्रान्सक्रिप्ट प्रमाणित गरेर इन्टनसिपमा सहभागी हुन काउन्सिलको सर्म्पकमा जाँदा सैद्धान्तिक पढाइको अवधि ६ वर्ष पुगेको छैन भनेर रोकियो ।’ त्यतिबेला बुझाएको भर्ना आवेदन फाराममा ७ वर्ष उल्लेख भएकाले काउन्सिलले रोकेको विद्यार्थीहरूको भनाइ छ ।
काउन्सिलले चीनमा पढ्न जान ७ वर्षको अवधि लागू गरेपछि विश्वविद्यालयको समन्वयबिनै भर्ना फाराममा ६ वर्षको अवधि हटाएर ७ वर्ष बनाउने काम कन्सल्टेन्सीले गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । ‘मेडिकल काउन्सिलले पनि कन्सल्टेन्सीले दिएको विवरणमा जाँच नगरी अनुमति दियो,’ ती छात्रले भने, ‘अहिले ७ वर्षे कोर्ष पढ्छु भनेर गएका थियौं, ६ वर्षमा नै प्रमाणपत्र दिन मिल्दैन भनेर रोकेर राखिएको छ ।’ २०१५ ब्याचका २० जना, २०१६ का २९, २०१८ का १३ र २०१९ ब्याचका ४० जना विद्यार्थीको यस्तो समस्या रहेको अनुमान गरिएको छ । विश्वविद्यालयले मापदण्डअनुसार अध्यापन गराएर २०१५ र २०१६ व्याचका विद्यार्थीको ट्रान्सक्रिप्ट पठाइसकेको छ । कान्तिपुरलाई प्राप्त एक छात्रको ट्रान्सक्रिप्टमा ५ वर्ष सैद्धान्तिक पठनपाठन र एक वर्ष इन्टर्नशिप मात्र उल्लेख छ । ‘हामीले अध्ययन गर्नुपर्ने जति विषय गरिसक्यौं, पास पनि भयौं, तर काउन्सिलले तोकेजति समयावधी पुगेको छैन,’ प्रहरीमा उजुरी दिनेमध्येका एक विद्यार्थीले भने, ‘हामीले पाएको ट्रान्सक्रिप्ट मेडिकल काउन्सिलबाट मान्य नहुने भनिएको छ, त्यसो हुँदा हामी डाक्टरको लाइसेन्स परीक्षामा पनि सहभागी हुन नपाउने भयौं ।’ कन्सल्टेन्सीले जसरी पनि विद्यार्थी विबदेश पठाउन विश्वविद्यालयको मापदण्ड नै फेरबदल
गरेर काउन्सिलबाट अनुमति लिएको विद्यार्थीहरूले बताए ।
यो समस्यामा परेकामध्ये अधिकांश विद्यार्थी कोभिडका कारण नेपाल फर्केका हुन् । चीनमा रहेका विद्यार्थीको इन्टर्नसिप सुरु भसके पनि यता आएकाको इन्टर्नसिप नै अनिश्चित छ । नेपाल फर्केकाहरूले इन्टर्नसिप यहीं पूरा गर्न पाउनुपर्नेसहित पढाइको समयावधि नपुगेको बारे छानबिन गर्न माग राखेका छन् । चीनबाट फर्केका विद्यार्थीलाई इन्टर्नसिप पूरा गर्न शिक्षा मन्त्रालयले सैद्धान्तिक प्रमाणपत्र मागेको छ । तर भर्ना आवेदन फाराम र ट्रान्सक्रिप्टमा अध्ययन अवधि फरक परेका विद्यार्थीले इन्टर्नसिप पाउने/नपाउने अनिश्चित छ । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले विद्यार्थीले जस्तो भर्ना आवेदन फाराम ल्याए त्यहीअनुसार २०१५ मा अनुमति दिइएको बताए । ‘६ वर्षका लागि हामीले अनुमति नै दिँदैनौं, त्यही भएर ७ वर्षको पत्र बनाएर ल्याए,’ उनले भने, ‘हामी कन्सल्टेन्सी चिन्दैनौं, सम्बन्धित विद्यार्थीलाई अनुमति दिने हो, विश्वविद्यालयको पत्र ल्याएपछि अनुमति दिएका हौं ।’ त्यतिबेला तोकिएको व्यवस्था पूरा गरेमात्रै विद्यार्थीले काउन्सिलबाट मान्यता पाउने उनले जनाए । ‘७ वर्ष पढ्छु भनेर अनुमति लिएर जाने, अहिले ५ वर्ष पछि आएर ६ वर्षमा कोर्स पूरा गरें भनेको कुरालाई कसरी मान्यता दिने ?’ उनले प्रश्न गरे ।
चीनको सरकारी मेडिकल कलेजमा अध्ययन गर्न जाने विद्यार्थीलाई १ वर्षको चिनियाँ भाषा अध्ययन अनिवार्य छ । त्यहाँ शिक्षणसंस्था अनुसार अंग्रेजी र चिनियाँ भाषामा मेडिकल शिक्षा पढाइ हुने गर्छ । पछिल्ला वर्षमा निजी मेडिकल कलेजमा अध्ययन गर्न जाने विद्यार्थीले पनि भाषा अध्ययन गर्नुपर्ने प्रबन्ध गरिएको छ । अंग्रेजीमा पढ्नेका लागि पनि इन्टर्नसिपमा सहज होस् भनेर भाषा पढाउने गरिएको हो । डाली युनान प्रान्तको निजी विश्वविद्यालय हो ।
काउन्सिलका पूर्वपदाधिकारीहरूले भने विश्वविद्यालयले दिएको पत्र जाँच नगरी अनुमति दिनु काउन्सिलको पनि कमजोरी रहेको जनाए । काउन्सिलको पत्रपछि मात्रै शिक्षा मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र दिने गर्छ ।
विश्वविद्यालयको पाठ्यक्रममा शैक्षिक अवधि ६ वर्ष रहेको तर कन्सल्टेन्सीले काउन्सिलको निर्णयअनुसार ७ वर्षका लागि पत्र दिएका कारण समयावधि फरक परेको हो । स्पिड इन्टरनेसनलका सञ्चालक मिलन ज्ञवालीले विश्वविद्यालयको भर्ना फारामलाई परिवर्तन गरी नक्कली बनाएको विद्यार्थीको आरोप छ । ‘कन्सल्टेन्सीले नक्कली पत्र बनाएर हामीले झुक्काएको रहेछ, काउन्सिलले पनि छानबिन नगरी सोहीअनुसार अनुमति दिएर लापरबाही गर्‍यो,’ कान्तिपुरको सम्पर्कमा आएका छात्रहरूले भने । मेडिकलतर्फको सैद्धान्तिक विषयको अध्ययन गर्दा नै चिनियाँ भाषा परीक्षा (एचएसके–फोर) पास गरेको उनीहरूले बताए ।
उक्त कन्सल्टेन्सीलाई इक्यानले स्पष्टीकरण सोधेको छ । विश्वविद्यालयको कागजात फेरबदल गर्न संलग्नता रहे/नरहेकोबारे खुलाई पठाउन निर्देशन उसले दिएको हो । स्पिड इन्टरनेसनलका सञ्चालक ज्ञवालीले विश्वविद्यालयको कागजात फेरबदल गर्न
आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरे । ‘मेडिकल काउन्सिलले ७ वर्षको समयावधि खोजेपछि विश्वविद्यालयले नै त्यहीअनुसार डकुमेन्ट पठाएको हो,’ उनले कान्तिपुरसित भने, ‘अहिले विद्यार्थी अप्ठ्यारोमा परेपछि मिलाउन चीनस्थित विश्वविद्यालय र नेपालको शिक्षा मन्त्रालयमा कुरा गरिरहेका छौं ।’ सन् २०१४ का विद्यार्थीलाई जस्तै गरी ६ वर्षेर् ेकोर्स गरेका विद्यार्थीलाई काउन्सिलले मान्यता दिनुपर्ने उनको भनाइ छ । ‘यस्तो नियम नेपालमा बाहेक अन्त छैन, विद्यार्थीले भाषा पढेकै छन्, कोर्स पनि पूरा गरेका छन्, मान्यता दिँदा फरक पर्दैन,’ उनले भने ।
चीनमा एमबीबीएस पढेर सैद्धान्तिक कोर्स पूरा गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्न शिक्षा मन्त्रालयले असोज २२ गतेसम्म आवेदन मागेको छ । सन् २०१४ का १ सय ६५ जनाले नेपालमा नै इन्टर्नसिप गर्न अनुमति पाएका छन् । २०१५ का लागि पनि अनुमति दिन आवेदन मागिएको हो ।

समाचार

जलवायु अनुसन्धातालाई नोबेल

- कान्तिपुर संवाददाता


स्टकहोम (एजेन्सी)– पृथ्वीको जलवायुसम्बन्धी जटिल व्यवस्थाबारे बुझ्न गरेको योगदानका लागि तीन वैज्ञानिकलाई सन् २०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।
वैज्ञानिकहरू स्युकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई एक करोड डेनिस क्रोनर राशिको पुरस्कार प्रदान गरिने नोबेल पुरस्कार कमिटीले जनाएको छ । कमिटीका अनुसार वैज्ञानिकत्रयको खोजले जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न सहज बनाएको हो ।
९० वर्षीय मानाबे र ८९ वर्षीय हसलम्यानले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानबारे संयुक्त खोज गरेका थिए । मानाबे अमेरिका र हसलम्यान जर्मन नागरिक हुन् । उनीहरूले विकसित गरेको खोजले हरितगृह ग्यास उत्सर्जनका आधारमा जलावायुबारे बुझ्न सहयोग पुर्‍याएको छ ।
मानाबेले वायुमण्डलमा कार्बनडाइअक्साइडको वृद्धिका कारण पृथ्वीको सतहमा कसरी तापक्रम बढ्छ भन्ने पत्ता लगाएका हुन् । यस्तै, ७३ वर्षीय इटालीयन वैज्ञानिक पारिसीले परमाणुदेखि ग्रहसम्म उतारचढावको
अन्तर्क्रियाको खोज गरेका हुन् ।

समाचार

कर्मचारीलाई आधा दिन काम, तलब पनि आधै

- कान्तिपुर संवाददाता

(भैरहवा) - कोरोना संक्रमणले पर्यटकको आगमन घटेर आम्दानीको स्रोत खुम्चिएपछि लुम्बिनी विकास कोषलाई कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ । कोषले एक वर्षयता करार, सेवा करार, दैनिक ज्यालादारीका कर्मचारीलाई महिनामा १५ दिनमात्रै काममा लगाउने र त्यति बराबरकै मात्र तलब दिएर काम चलाउँदै आएको छ । कर्मचारीलाई तलब खुवाउन पैसा नभएपछि कोषले करिब ५ करोड रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ ।
लुम्बिनी, रामग्राम र कपिलवस्तुका विभिन्न पुरातात्त्विक स्थलसहित कोषमा १ सय ५९ जना कर्मचारी स्थायी छन् । करार, सेवा करार, दैनिक ज्यालादारी लगायतका कर्मचारी संख्या १ सय ११ छ । कर्मचारी खर्चका लागि सरकारले कोषलाई बजेट दिँदैन । मासिक करिब ९ करोड रुपैयाँ हाराहारीको खर्च आन्तरिक स्रोतबाट
व्यवस्थापन गर्न गाह्रो परेको हो । ‘कोभिड संक्रमणले गर्दा कोषको आम्दानीका स्रोत सुक्यो । तलब खुवाउन समस्या छ,’ कोषका लेखा प्रमुख नवलकिशोर यादवले भने, ‘अहिलेसम्म चाहिँ आन्तरिक ऋणबाट जसोतसो चलाइएको छ । अब कसरी तलब खुवाउने भन्ने टुंगो छैन ।’ धेरै कर्मचारीको सेवासुविधा कटौती गरेकाले र करार, सेवा करार, दैनिक ज्यालादारीमा कार्यरतलाई महिनामा आधा दिनमात्र काममा लगाई त्यही अनुरूप तलब दिइएकाले लिएको ऋणबाट असोज महिनासम्मको तलब दिन पुग्ने हिसाब आएको उनले बताए ।
सरकारले कोषलाई विकास निर्माणका कामको लागि मात्रै पुँजीगत बजेट दिने गरेको छ । कोषको मुख्य आम्दानीको स्रोत पर्यटकबाट आउने शुल्क हो । कोरोना संक्रमण फैलिनुअअघि वार्षिक १५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । लकडाउन र निषेधाज्ञाले आम्दानी ह्वात्तै घटेको छ । गत आवमा कोषले २ करोड ७२ लाख आम्दानी गरेको थियो । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा गरेर ५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । पछिल्लोपटक लुम्बिनी गत भदौ ६ गतेदेखि खुलेको छ । कोषका अनुसार अघिल्लो लकडाउनका बेला आठ महिनासम्म बन्द भएको थियो । बीचमा दुई महिना खुलेपछि पुनः लकडाउन भएको थियो । गत आव २०७६/०७७ मा कोषको तलब र अन्य सेवासुविधामा साढे ९ करोड रुपैयाँजति खर्च भएको थियो । आम्दानी करिब ३ करोडमात्र भएको थियो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले आर्थिक स्रोत सुकेपछि लामो समयदेखि कर्मचारीलाई आधा दिनमात्रै काममा लगाएर त्यही अनुरूप तलब दिँदै धानेको बताए । ‘सबैलाई तलब खुवाउनका लागि संस्कृति तथा पर्यटन मन्त्रालयसँग साढे १४ करोड रुपैयाँ अनुदान माग गरिएको छ र यसबारेमा मन्त्रालय सकारात्मक नै छ,’ उनले भने, ‘धेरै कर्मचारीको सेवा सुविधा घटाएर मितव्ययिता अपनाएका छौं ।’
लुम्बिनीमा मायादेवी मन्दिर प्रवेश गर्ने यात्रुसँग लुम्बिनी सेवा संरक्षणबापत लिने शुल्क, लुम्बिनीभित्र प्रवेश गर्ने गाडीसँग पार्किङ शुल्क, क्यामेरा तथा भिडियो सुटिङ शुल्क, कोषमा रहेका विभिन्न बिहार र होटलको भू–शुल्क र दानपात्रमा संकलित रकम नै कोषको आन्तरिक आम्दानीका स्रोत हुन् ।

Page 15
अर्थ वाणिज्य

'पीपीए सीमा बढाउँदा जोखिम आफैं वहन गर्नू’

- हेमन्त जोशी

(काठमाडौं) - नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सीमा बढाउँदा त्यसबाट सिर्जित समस्याको दायित्व आफैं वहन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सुझाव दिएको छ । पीपीएको सीमा बढाउन सरकारलाई निजी क्षेत्रको दबाब छ । तर मन्त्रालयले यसमा तत्काल कुनै निर्णय नलिने देखिएको हो । बरु आवश्यकता, औचित्य र जोखिमको विश्लेषणपछि पीपीए थप गर्न चाहेमा प्राधिकरणले त्यस्तो निर्णय लिन सक्ने मन्त्रालयले जनाएको छ ।
जलविद्युत् आयोजनाको पीपीए प्राधिकरणको सञ्चालक समितिले टुंग्याउने कानुनी व्यवस्था छ । तर आरओआर आयोजनाको पीपीए सीमा सकिएपछि प्राधिकरणले नयाँ सम्झौता रोक्का राखेको छ । सरकारले २०७५ वैशाखमा सार्वजनिक गरेको ऊर्जा क्षेत्रको श्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको थियो । यही घोषणाका आधारमा जलाशययुक्त आयोजनालाई ३० देखि ३५, अर्धजलाशययुक्त (पीआरओआर) आयोजनालाई २५ देखि ३०, नदी प्रवाहमा आधारित (आरओआर) आयोजनालाई ३० देखि ३५ र अन्य वैकल्पिक स्रोतबाट ५ देखि १० प्रतिशत पीपीए गर्ने सरकारको नीति छ । आरओआर आयोजनाले पाएको ३५ प्रतिशतको सीमा अर्थात् ५ हजार २ सय ५० मेगावाट उत्पादन क्षमताका आयोजनाको प्राधिकरणबाट पीपीए भइसकेको छ । तत्काल यो सीमा नाघ्न नसकिने मन्त्रालयको भनाइ छ ।
पीपीए सीमा थप्न निजी क्षेत्रको दबाब बढ्दै गएपछि मन्त्रालयले सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा सुझाव सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले जलाशययुक्त आयोजनाको सीमा कटौती गरेर आरओआरलाई दिन सकिने सुझाव दिएको छ । तर त्यसमा जोखिमको दायित्व प्राधिकरणकै हुने गरी सर्त राखिएको सहसचिव भेटुवाल बताउँछन् । ‘सर्वेक्षण अनुमति लिएका सबै आयोजनाको पीपीए गर्न सक्ने अवस्था अहिले छैन,’ उनले भने, ‘आयोजनाको लक्षित उत्पादन मिति (आरसीओडी) पहिल्यै तय गर्ने, प्रसारण लाइनको सुविधा उपलब्ध हुने–नहुने यकिन गर्ने र कुनै जोखिमको अवस्था देखिएमा त्यसको जिम्मेवारी प्राधिकरण स्वयंले लिने गरी स्टोरेजको कटौती गरेर आरओआरलाई दिन सकिन्छ ।’ समितिको यही सिफारिसका आधारमा आन्तरिक खपतको आधार र बाह्य बजारको सुनिश्चितता हुँदा मात्र पीपीएको सीमा बढाउनुपर्ने सुझाव मन्त्रालयले प्राधिकरणलाई दिएको उनको भनाइ छ ।
भेटुवाल संयोजकत्वको समितिले जलाशययुक्त आयोजनालाई २० देखि २५, पीआरओआर आयोजनाका लागि २० देखि ३०, आरओआर आयोजनाका लागि ४० देखि ४५ र सौर्य, नवीकरणीयलगायत अरू ऊर्जाका लागि ५ देखि १० प्रतिशत सीमामा पीपीए गर्न सकिने उल्लेख गरेको छ । ‘आर्थिक, प्राविधिक र अरू खालका कुनै जोखिम उत्पन्न हुन सक्ने अवस्थाको आकलन स्वयं प्राधिकरणले गर्नुपर्छ । यदि उसले कुनै जोखिम नदेखेमा स्टोरेजको सीमा घटाएर आरओआरलाई दिन सक्छ,’ उनले भने, ‘जोखिम हुने अवस्थामा प्राधिकरण त्यसको दायित्व लिन तयार हुनुपर्छ ।’
विद्युत् विकास विभागका अनुसार हालसम्म १ मेगावाटभन्दा कम उत्पादन क्षमताका १५ वटा आयोजनाबाट करिब ११ मेगावाट र १ मेगावाटभन्दा माथिका २ सय ८ वटा आयोजनाबाट १५ हजार ५ सय १५ मेगावाट गरी कुल १५ हजार ५ सय २६ मेगावाट बराबर उत्पादन क्षमता भएका आयोजनाहरूले सर्वेक्षण अनुमतिपत्र लिएका छन् । अहिले नेपालभित्रै उत्पादित विद्युत् वर्षायाममा खेर जाने गरेको छ । खपत नबढ्ने हो भने अबको ३ वर्षपछि सुक्खायाममा पनि विद्युत् खेर जाने अवस्था छ । निजी क्षेत्रले भने सर्वेक्षण अनुमति थपाउने तर पीपीए नगर्ने सरकारको नीतिले आफूहरू समस्यामा परेको बताउँदै आएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्य नेपालमा विद्युत् किन्ने एकमात्र निकाय विद्युत् प्राधिकरण भएकाले उसले पीपीए गर्दिनँ भन्नु अनुपयुक्त रहेको बताउँछन् । ‘सरकारले सर्वेक्षणका लागि अहिले पनि धमाधम अनुमति दिइरहेको छ । तर पूर्वसम्भाव्यता अध्ययन र सर्वेक्षण भएका आयोजनालाई पीपीए गर्दिनँ भन्नु कति जायज हो ?,’ प्रतिप्रश्न गर्दै आचार्यले भने, ‘सर्भे लाइसेन्स दिने भनेको विद्युत् किन्ने भन्ने पनि हो । आयोजनाहरूले उत्पादन गरेको विद्युत् कहाँ लगेर जोड्ने भन्ने स्पष्ट हुनुपर्‍यो ।’ आयोजना सर्वेक्षणका क्रममा ठूलो रकम खर्च भइसक्ने हुँदा आयोजनाबाट हात झिक्ने अवस्थामा पनि प्रवर्द्धकहरू हुँदैनन् ।
अहिलेको समस्या समाधानका लागि विद्युत् खपत बढाउने प्रभावकारी योजना सरकारले बनाउनुपर्ने आचार्य बताउँछन् । सरकारले ग्यास विस्थापन गरेर इन्डक्सन चुलो र पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्न सके विद्युत् खपत बढ्ने उनको भनाइ छ । प्रसारण र वितरण प्रणाली चुस्त बनाएर
विद्युत्को आन्तरिक तथा बाह्य बजार खोज्न सरकारले ढिलाइ गरेको उनले आरोप लगाए ।

अर्थ वाणिज्य

सेबोन अध्यक्ष ढुंगाना बर्खास्त

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । ‘उनलाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘नयाँ अध्यक्ष नियुक्तिबारे केही निर्णय भएको छैन ।’ सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुस २१ मा चारवर्षे कार्यकालका लागि ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्त भएको २१ महिनापछि उनी बर्खास्त भएका हुन् । ढुंगानालाई लागेको आरोप सम्बन्धमा छानबिन गर्न गत भदौ १७ को मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ नारायणप्रसाद पौडेल रहेको समिति गठन गरेको थियो ।

समितिले अघिल्लो साता नै प्रतिवेदन बुझाएको थियो । गत साता मन्त्रिपरिषद्ले ढुंगानालाई स्पष्टीकरण पनि सोधेको थियो ।
सरकारले धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा ७ बमोजिम समिति गठन गरेको हो । उपदफा ७ मा अध्यक्षले बोर्डलाई हानि नोक्सानी पुर्‍याई बोर्डको हित वा पुँजी बजारको विकासविपरीत हुने गरी कामकारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार ढुंगानालाई बर्खास्त गर्न अर्थमन्त्रीले प्रस्ताव गरेका थिए ।
सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरी सेयर निष्कासनको तयारीमा रहेको कम्पनी हो । उक्त कम्पनीको संस्थापक सेयर ढुंगानाले छोरीको नाममा, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतीका नाममा खरिद गरेको भेटिएको थियो । अर्थ मन्त्रालयले छानबिन सुरु गरिसकेपछि साउदले गत भदौमा पदबाट राजीनामा दिइसकेका छन् । साउदको चारवर्षे कार्यकाल सकिन एक महिना मात्र बाँकी थियो । सोही कारण उनको कारबाही सम्बन्धमा सरकार केही बोलेको छैन । ढुंगानालाई बर्खास्त गरे पनि नयाँ अध्यक्ष नियुक्तिबारे सरकारले केही निर्णय गरेको छैन । स्रोतका अनुसार सरकारले नयाँ अध्यक्षका लागि छिट्टै सिफारिस समिति गठन गर्नेछ । अब नियुक्त हुने अध्यक्षको कार्यकाल २ वर्ष ३ महिना मात्र हुनेछ ।

अर्थ वाणिज्य

४२ अंक बढ्यो नेप्से

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से मंगलबार करिब ४२ अंकले बढेको छ । यो वृद्धिसँगै सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ६ सय १२.६५ बिन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.६३ प्रतिशतले बढी हो । अघिल्ला तीन कारोबार दिनमा नेप्से करिब ९५ अंकले घटेको थियो ।
मंगलबार व्यापारबाहेक कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । करिब ४१ हजार ५१ कारोबारबाट २ सय २३ कम्पनीका ५८ लाख ४२ हजार १ सय ३५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो कम हो । सोमबार सेयर बजारमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेको छ । जसअनुसार ३६ खर्ब ५७ अर्ब रुपैयाँ कुल बजार पुँजीकरण कायम भएको छ । सोमबार यस्तो पुँजीकरण ३५ खर्ब ९८ अर्ब रुपैयाँ थियो । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.४५ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक १.७५ प्रतिशतले बढेको छ ।

Page 16
अर्थ वाणिज्य

एनआरएनए अध्यक्षमा केसीको उम्मेदवारी घोषणा

- कान्तिपुर संवाददाता

(काठमाडौं) - गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले ८ शीर्षकमा आफ्ना प्रतिबद्धतापत्र पनि सार्वजनिक गरे । एनआरएनएको १० औं विश्व सम्मेलन आगामी कात्तिक ६–८ सम्म काठमाडौंमा हुँदै छ ।
केसीको प्यानलबाट उपाध्यक्षमा हेमराज शर्मा (यूके), महेशकुमार श्रेष्ठ (जापान), डीबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अस्ट्रेलिया), यसमिन बेगम सैयद (साउदी अरब) ले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिम्खडा (यूके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) छन् । कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) छन् । महिला संयोजकमा संगीता मरहट्टा (यूके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्यान्ड) छन् ।
एनआरएनएलाई प्रवासी नेपालीको साझा संस्थाका रूपमा विकास गर्न तथा पछिल्लो समय देखिएको चरम राजनीतीकरण अन्त्य गर्दै थप मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको केसीको भनाइ थियो । यसका लागि सबै पञ्जिकृत सदस्यले नेतृत्व छनोटका लागि मतदान गर्न पाउने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । ‘स्थापनाकालदेखि नै संघका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव र आफ्ना अग्रज तथा शुभेच्छुकको चाहनालाई सम्मान गर्दै अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो,’ उनले भने । रोजगारी, वैदेशिक लगानी, संस्थागत पुनःसंरचना, गैरआवासीय नेपालीका हकअधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएनए, एनआरएनए फाउन्डेसन, नेपालमा पर्यटन प्रवर्द्धन, युवा र महिलाका मुद्दा र अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यलाई उनले प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् ।
त्यस्तै, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने, श्रमिकको योगदानमा आधारित सुरक्षा कोष र पेन्सन फन्ड स्थापना गर्ने, विदेशमा सीप र दक्षता सिकेर नेपाल फर्केकालाई सरकारसँगको समन्वयमा रोजगारीको अवसर दिलाउने, कामका लागि मध्यपूर्व तथा मलेसियामा पुगेका महिलाहरूको सुरक्षाका लागि कूटनीतिक पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । श्रम स्वीकृति, बिमा नवीकरणलगायतका कार्य विदेशस्थित नेपाली नियोगबाटै गर्ने व्यवस्था मिलाउन र आकर्षक नयाँ श्रम गन्तव्यको पहिचान गरी श्रम सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ । उनले नेपालमा लगानी भित्र्याउने, लगानीका क्षेत्रको पहिचान गरी ३ तहकै सरकारसँग समन्वय तथा सहकार्य गर्ने, विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउने र विदेशी लगानी भित्र्याउन दोहोरो करको व्यवस्था हटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं फर्पिङका केसी हाल रुसमा व्यवसाय गर्दै आएका छन् । उनी सन् २००७ मा एनआरएन, रुसको महासचिवमा निर्वाचित भएका थिए । सन् २००९ र २०११ मा दुई कार्यकाल एनआरएनएको केन्द्रीय सदस्य भए । सन् २०१३ मा कोषाध्यक्ष निर्वाचित उनी हाल उपाध्यक्ष छन् ।

अर्थ वाणिज्य

त्रिवेणी भन्सार स्तरोन्नति कागजमै सीमित

- कान्तिपुर संवाददाता

 

पूर्वी नवलपरासी (कास)– संघीय सरकारले त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गरेको एक वर्ष बितिसकेको छ । त्यसका लागि अर्थ मन्त्रालयले कर्मचारी पनि खटाइसकेको छ । तर भन्सार सञ्चालन गर्न आवश्यक भौतिक संरचनाहरू गोदाम, पार्किङ, सुरक्षा निकायको कार्यालयलगायत नहुँदा समस्या भएको छ । यसकै कारण आयात–निर्यात र कारोबारसमेत बढ्न सकेको छैन । भारतसँग सीमा जोडिएको यो गण्डकी प्रदेशको एक मात्र नाका हो ।
जग्गा अधिग्रहण र भन्सारका संरचना नबनेका कारण आयात–निर्यात र भन्सार राजस्व बढाउन नसकिएको त्रिवेणी भन्सारका प्रमुख विकाश उपाध्याय बताउँछन् । त्रिवेणी पुल आसपासमा रहेको सबै नेपाली जग्गा भारतले भोग (गण्डक परियोजनाले ९९ वर्षका लागि भाडामा लिएको छ) गरिरहेका कारण नेपालले आफ्नै जग्गा पनि भारतीय पक्षसँग भाडामा लिनुपर्ने अवस्था छ । तर यसका लागि प्रक्रिया अघि बढेको छैन । त्रिवेणीमा गण्डक नहर आसपासको ३ सय मिटर क्षेत्रभित्रको जग्गा गण्डक सम्झौताअनुसार भारतको अधीनमा छ । जसको मालपोत भारतले नेपाललाई बुझाउँदै आएको छ । गण्डक सम्झौताको अवधि नसकिएसम्म उक्त जग्गा उपयोग गर्नुपर्दा नेपालले भारतको अनुमति लिनुपर्ने हुन्छ ।
बाँध बाँधेर भारतको विहार र उत्तर प्रदेशमा सिँचाइका लागि नारायणीको पानी लगिएको छ । बाँधकै लागि भारतले नेपालको जग्गा उपभोग गरिरहेकाले त्रिवेणीमा भन्सार कार्यालय विस्तारमा समस्या भएको हो । हाल त्रिवेणी भन्सारदेखि पश्चिममा रहेको महेशपुर र भैरहवा नाकाबाट धेरै समान आयात–निर्यात हुने गरेको छ । गत आवमा सरकारले एक करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । कोरोना महामारीका कारण त्रिवेणी नाका र पारिको वाल्मीकिनगरसमेत सिल गरिएकाले राजस्व असुली शून्य छ । गत सोमबार नाका खुला गरिए पनि मान्छे आउजाउबाहेक हुन सकेको छैन ।

अर्थ वाणिज्य

विदेशी मुद्रा आर्जन गर्ने कम्पनीलाई ऋण लिन बैंक ग्यारेन्टी

- कान्तिपुर संवाददाता

(काठमाडौं) - विदेशी मुद्रा आर्जन गरेका नेपाली फर्म/कम्पनी/संघ/संस्था/निकायलगायतले विदेशमा ऋण लिन ५० लाख अमेरिकी डलर बराबरको बैंक ग्यारेन्टी वा स्ट्यान्डबाई एलसी (प्रतीत पत्र) सुविधा पाउने भएका छन् । ती निकायले विदेशी बैंकबाट ऋण लिई कारोबार
सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त सुविधा दिने भएको हो । यसका लागि राष्ट्र बैंकले एकीकृत परिपत्र परिमार्जन गरिएको जनाएको छ ।
यो व्यवस्था हाल नेपालमा रहेर विदेशी संघसंस्था वा कम्पनीमा पनि सेवा बिक्रीमार्फत विदेशी मुद्रा आर्जन गरेका कम्पनीहरूका लागि मात्र हो । जसअन्तर्गत सामाजिक सञ्जालमार्फत हुने विदेशी मुद्रा आर्जन गर्न सकिने काम, विदेशमा सफ्टवेयर सेवा प्रदानलगायतमा संलग्न व्यवसायलाई कारोबार थप विस्तारका लागि यस्तो सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ । यसरी ती निकायलाई यो सुविधा दिइएको पहिलो पटक हो ।
यसअघि विदेशस्थित कुनै निकायलाई नेपालबाट वस्तु निर्यात वा सेवा उपलब्ध गराउनेलगायतका व्यवसाय गर्न र सो प्रयोजनका लागि आवश्यक अग्रिम भुक्तानी लिने प्रयोजनका लागि वाणिज्य बैंकहरूले विदेशी मुद्राको बैंक ग्यारेन्टी वा स्ट्यान्डबाई एलसी खोल्न सकिने व्यवस्था थियो । सोही व्यवस्थामा अहिले राष्ट्र बैंकले विदेशी मुद्रा आर्जन गरेका नेपाली फर्म/कम्पनी/संघ/संस्था/निकाय लगायतलाई पनि उक्त सुविधा दिन सकिने व्यवस्था गरेको हो । तर यस्तो ग्यारेन्टी लिनुअघि सम्बन्धित निकायले राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ ।
अहिले पनि विदेशी मुद्रा आर्जन गरिरहेका र उनीहरूलाई थप कारोबार विस्तारका लागि आवश्यक रकम जुटाउन सहयोग होस् भन्ने उद्देश्यले नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘कुनै फर्मले अहिले पनि विदेशी मुद्रा आर्जन गरिरहेका छन् । उक्त व्यवसायअन्तर्गत उसले विदेशी निकायबाट थप काम पाए त्यसका लागि विदेशमा कर्मचारी, पूर्वाधारलगायत जुटाउन पैसा चाहिन सक्छ । त्यही आवश्यकता पूर्ति गर्न विदेशी मुद्रामा बैंक ग्यारेन्टी वा स्ट्यान्डबाई एलसी सुविधा दिइएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘मापदण्ड पुगेका निकायले नेपाली बैंकमा एलसी खोलेर विदेशी बैंकबाट भुक्तानी लिन सक्छन् ।’
उक्त ग्यारेन्टी वा एलसी सुविधा प्राप्त गर्न १० वटा मापदण्ड राष्ट्र बैंकले तोकेको छ । जसअनुसार बैंक ग्यारेन्टीको अधिकतम सीमा अमेरिकी डलर ५० लाख वा सो बराबरको अन्य विदेशी मुद्रा हुनेछ । ‘त्यस्तो सीमा बैंक ग्यारेन्टी वा स्ट्यान्डबाई एलसीको निवेदकले पछिल्ला ५ आर्थिक वर्षभित्र बैंकिङ प्रणालीमार्फत आर्जन गरेको कुल विदेशी मुद्रा र विदेशमा लिने ऋण रकमभन्दा बढी हुने छैन,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।
यस्तै, बैंक ग्यारेन्टी जारी गर्दा विदेशमा ऋण लिनुपर्ने आवश्यकता पुष्टि हुने कागजात, कम्पनीको दर्ता र करचुक्ता प्रमाणपत्र, पछिल्लो लेखा परीक्षण प्रतिवेदन, उक्त सुविधा माग गर्ने सम्बन्धमा सञ्चालक समितिबाट निर्णय भएको प्रतिलिपि र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्वघोषणा र विदेशी मुद्रा आर्जन भएको सम्बन्धी प्रमाण पनि पेस गर्नुपर्नेछ । यस्तै, विदेशमा कारोबार गरेबापत नेपालमा थप विदेशी मुद्रा भित्रिनेसम्बन्धी कागजात, सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ लगायतका प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र निर्देशनको पूर्णतः पालना गर्नुपर्नेछ ।

अर्थ वाणिज्य

बजाज एक्सचेन्ज महामेला योजना

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले ‘बजाज एक्सचेन्ज महामेला’ योजना ल्याएको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ नाराका साथ ल्याएको यस योजना असोज १७–२३ सम्म काठमाडौंस्थित भृकुटीमण्डपमा मात्र लागू हुने जनाएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइकमा १० हजार रुपैयाँ थप मूल्यांकन पाउनेछन् । साथै ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र जाँचको सेवा पाउने कम्पनीले जनाएको छ । यो योजनाको एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की ड्र प्राइज पनि जित्न सक्नेछन् ।

अर्थ वाणिज्य

एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरूलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरूले एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्टलगायतका सुविधाहरू पाउनेछन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अर्थ वाणिज्य

सामसङ एम ५२ स्मार्टफोन सार्वजनिक

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सामसङ नेपालले ‘ग्यालेक्सी एम ५२’ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एम सिरिजअन्तर्गत उक्त स्मार्टफोन सार्वजनिक गरेको हो । ७.४ एमएमको पातलो डिजाइनमा रहेको यो मोडलमा ६.७ इन्चको फूल एचडी डिस्प्ले, गोरिल्ला ग्लास, ६४ मेगा पिक्सेल क्यामेरा, ५ हजार एमएएचको ब्याट्रीलगायतका विशेषता छन् । नेपाली बजारमा ६ जीबी र्‍याम भएकोलाई ४८ हजार ९ सय ९९ र ८ जीबी र्‍याम भएकोलाई ५० हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

गोकर्णेश्वरमा सानिमा बैंकको शाखा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मंगलबारदेखि शाखा सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरे ।

अर्थ वाणिज्य

आरबीबीका ७ शाखा विस्तार

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले थप ७ वटा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको चन्द्रागिरि, कागेश्वरी मनोहरा, ललितपुरको गोदावरी, भक्तपुरको कमल विनायक, चितवनको बरुवाबजार, सिन्धुपाल्चोकको साँगाचोकगढी र प्यूठानको मल्लरानीमा शाखा सञ्चालनमा ल्याएको हो ।

अर्थ वाणिज्य

कोकाकोला नेपालको पहिलो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट सार्वजनिक

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कोकाकोला नेपालले आफ्नो पहिलो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट सार्वजनिक गरेको छ । यस रिपोर्टले सन् २०२० मा समावेशी, दिगो र उज्ज्वल भविष्यका लागि कम्पनीका प्रयासहरूलाई देखाएको छ । पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन ग्यास कटौतीलगायतमा सहयोग पुर्‍याएको रिपोर्ट उल्लेख छ ।

अर्थ वाणिज्य

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको निःशुल्क ओपीडी

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नर्भिक इन्टरनेसनल हस्पिटलले आउने शनिबार निःशुल्क ओपीडी सेवा दिने भएको छ । अस्पतालले निःशुल्क ओपीडी अभियानअन्तर्गत दुई फरक विज्ञहरूको समूहले सो सेवा उपलब्ध गराउने जनाएको छ । अस्पतालमा रहेको युरोलोजिस्ट र श्वासप्रश्वास विशेषज्ञको समूहले निःशुल्क ओपीडी सञ्चालन गर्ने जनाइएको छ ।

Page 17
कला र शैली

फ्रेञ्च फेसन

- कान्तिपुर संवाददाता

फ्रान्सको राजधानी पेरिसमा मंगलबार आयोजित फेसन शोमा सहभागी मोडल । कार्यक्रममा सनेल स्प्रीङ समर–२०२२ का लागि डिजाइन गरिएका लुगा प्रदर्शन गरिएको थियो । कोरोना संक्रमणविरुद्ध खोप विकास भएर प्रयोगमा आउन थालेपछि संसारभर आर्थिक–सामाजिक जनजीवन पुनः चलायमान हुन थालेको छ । यही क्रममा फ्रान्समा पनि यस्ता समारोह आयोजनासँगै जनजीवन सामान्यीकरणतर्फ फर्केको सन्देश
दिने क्रम बढेको छ ।
तस्बिर ः एपी

कला र शैली

चुपचाप साधना

- सुशीला तामाङ

(काठमाडौं) - सर्जकले शब्द, धुन हुँदै गायकीसम्म ल्याएर पूरा गरेको सांगीतिक सिर्जना कसका लागि हुन् ? ती सिर्जनालाई कसले मूल्यांकन गर्छ र तिनको स्थान कसले निर्धारण गर्न सक्छ ? चलनचल्तीकै भाषामा भन्ने हो भने उत्तर आउँला दर्शक/स्रोता र बजारको जिम्मा । तर, गायक तथा संगीतकार तिलकसिंह पेला यी सबै पक्षभन्दा अलग छन् ।
अढाई दशकदेखि संगीतमा अनवरत लागिरहेका पेला राजधानीभित्र चुपचाप साधनामा तल्लीन छन् । दर्शक/स्रोताको वाहवाही, इज्जत, सम्मान तथा बजारिया संगीत प्रतिस्पर्धाबाट उनी टाढा छन् । संगीत सिर्जनाको उनको पहिलो प्राथमिकता आफैं हो । ‘संगीत हृदयको भाषा हो,’ उनी भन्छन्, ‘मेरो सिर्जनाले मलाई छुँदैन र म आफैंलाई सन्तुष्ट दिन सक्दैन भने त्यसको महत्त्व हुन्न ।’
सिर्जनालाई संख्यात्मकभन्दा गुणात्मकतिर लैजानुपर्ने धारणा राख्ने पेला लगभग सांगीतिक जमातसँगको हेलमेल छैनन् । ‘भाइरल’, ‘ट्रेन्डिङ’ जस्ता सांगीतिक बजारदेखि उनी झनै दूर छन् । बितेका २५ वर्षमा कोको बजारमा आए, कोको गए, अहिले को कसरी छाउँदै छन् भन्नेतिर पनि उनी चासो राख्दैनन् । एकै लयमा संगीत साधनामा रहेका पेलासँग अहिले बजारमा स्थापित भनेर चिनिएकाहरू पनि सम्भवतः परिचित छैनन् । वर्षौंदेखि उनी निरन्तर रूपमा शास्त्रीय संगीत सिक्ने सिकाउनेतिर मात्र तल्लीन रहे ।
२०५३ सालमा बैतडीबाट पहिलो आधुनिक गायकका रूपमा उदाएका पेलाले पहिलो सांगीतिक कोसेलीबाट नै निकै चर्चा कमाएका थिए । २०५३ मा काठमाडौं आई रेडियो नेपालमा स्वर परीक्षण पास गरेका उनले ‘आँसु’ एल्बम ल्याए । तीनताक उनले गाएको ‘लुकाउन खोज्दा पनि’ बोलको गीत निकै चर्चित थियो । बजारमा आँसु एल्बमले व्यापकता पायो । त्यतिबेला चलेका म्युजिक कम्पनीहरूले हजारौं क्यासेट उत्पादन गरेर आर्थिक उपार्जन गरे । गीत रेकर्ड गरेर पुनः महेन्द्रनगर फर्किर्एका पेलाले आफ्नो सिर्जनाको आर्थिक लाभ लिन पाएनन् । अहिले आएर उनलाई आफ्नो सिर्जनामाथि अनधिकृत रूपमा कसैले दुरुपयोग गरेको रहेछ भन्ने महसुस भएको छ । भन्छन्, ‘मेरो गीत बजारमा जताततै आइसकेको रहेछ । मलाई थाहा नै थिएन । बजारमा ल्याउने म्युजिक कम्पनीहरूले मसँग कुनै सम्झौता गरेका थिएनन् । प्रतिलिपि अधिकार, रोयल्टी भन्ने कुरा मलाई थाहा नै थिएन । तर अहिले पनि कोही कसैसँग केही गुनासो छैन । मेरो सिर्जनाले सबैको मनमा छोयो त्यही मेरा लागि ठूलो हो ।’
जतिबेला नाम चलेका गायकगायिकाको भीडमा उनको खोजी हुन थाल्यो, त्यतिबेला नै उनी संगीत साधनातिर गुप्तबास बसे । विभिन्न सांगीतिक कार्यक्रम, पुरस्कार तथा सम्मान गर्ने माहोलतिर लागेनन् । यसरी बिस्तारै पेला र सांगीतिक बजार एकअर्कामा विपरीत ध्रुवतिर गतिशील भए । अहिले पनि त्यो क्रम यथावत् नै छ ।
‘मैले औपचारिक रूपमा संगीत ज्ञान नलिइकन गीत रेकर्ड गराएको थिएँ । सांगीतिक बजारको चहलपहल तथा गीतको चर्चापछि संगीत सिक्नुपर्छ जस्तो लागेर म बजारतिर भन्दा सिक्नतिर लागेँ,’ उनी सुनाउँछन् । सांगीतिक माहोलको सार्वजनिक गतिविधिहरूबाट किन अलग रहे त भन्ने प्रश्नमा उनी भन्छन्, ‘संगीतप्रति मेरो बेग्लै प्यास छ । अरूलाई भन्दा पनि मेरो सिर्जनाले मलाई पहिले आनन्द दिनुपर्छ । सिर्जनाले बजार खोज्नेभन्दा बजारले खोज्ने खालका सिर्जना ल्याउनु संगीतको मूल धर्म र अनुशासन हो ।’
गाउँघरमा हुने शास्त्रीय संगीतको माहोल, हार्मोनियमको धुनसँगै पेलाको संगीतप्रति लगाब बढ्यो । संगीतप्रेमी दाजु गीतकार कृष्णसिंह पेलाको संगतमा सिर्जनासमेत गर्न थालेका उनी गीत रेकर्ड गर्न काठमाडौंसम्म आइपुगेका थिए ।
२०६१ सालदेखि नै उनले ‘श्री कृष्ण गुरुकुल संगीत पाठशाला’ मार्फत शास्त्रीय संगीत ज्ञान दिँदै आएका छन् । हाल काठमाडौं सानो भर्‍याङस्थित रहेको पाठशालामा संगीतको धुनसँगै दर्जनभन्दा बढी प्रशिक्षार्थीहरूसँग उनको दिनको शुभारम्भ र अन्त्य हुन्छ । ११/१२ देखि ५०/६० वर्षसम्मका उनका संगीत विद्यार्थीहरू छन् ।
२५ वर्षको अवधिमा उनले ‘आँसु’ एल्बमलाई भाग ३ सम्म बजारमा ल्याए । ‘निर्जन किनार आँसु भाग ३’ उनको पछिल्लो गीतिसंग्रह हो । जुन संग्रहलाई उनले आँसुको पहिलो संग्रह ल्याएको २३ वर्षपछि सार्वजनिक गरे । आफैंले संगीत ज्ञान दिएका प्रशिक्षार्थीहरू बजारमा छाइसक्दा समेत ‘तिलकसिंह पेला किन गुमनाम भए’ भन्ने संगीतप्रेमी र शुभचिन्तकका लागि भए पनि गीतिसंग्रहका रूपमा आफू अगाडि आएको उनले सुनाए । उनले प्रशिक्षण दिएकाहरू शास्त्रीय संगीतमा स्थापित भएका छन् । ‘थुप्रै विद्यार्थी छन् । उनीहरूमार्फत नै म सबैतिर पुगेको छु । मलाई यसैमा गर्व लाग्छ,’ उनी भन्छन् ।

कला र शैली

कलामा गान्धी दर्शन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सत्य र अहिंसाका पुजारी मानिने महात्मा गान्धीलाई अझै पनि धेरैले फरक–फरक तरिकाले सम्झिने गरेका छन् । अक्टोबर २ मा उनको १५२ औं जन्मजयन्ती विश्वभर मनाइयो । संयुक्त राष्ट्रसंघले यस दिनलाई विश्व अहिंसा दिवसका रूपमा मनाउँदै आएको छ । उनै गान्धीलाई नेपालका चित्रकारहरूले कलामार्फत सम्झिए । गान्धीको जीवन, दर्शन, सत्य तथा अहिंसात्मक मार्गलाई झल्काउने चित्र बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेका छन् ।
‘सिभाता लभ फाउन्डेसन नेपाल’ को पहलमा ‘बीपी कोइराला इन्डिया–नेपाल फाउन्डेसन’ सँगको सहकार्यमा गत शनिबारदेखि सुरु साताव्यापी प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी चित्रकारले आ–आफ्ना सिर्जनामा गान्धी जीवन र दर्शनलाई प्रस्तुत गरेका छन् । तत्कालीन बेलायती सरकारले नुनमाथि लगाएको करमा विरोधस्वरूप गान्धीले ‘नुन सत्याग्रह’ का लागि कैयौं दिन पैदलयात्रा गरी आफैं नुन उत्पादन गर्ने प्रक्रियामा लागे । यस क्रममा गुजरातको अहमदाबादस्थित साबरमती आश्रमबाट ८० जनाको टोलीका साथ गान्धी समुद्र किनारमा पर्ने दाण्डी गाउँसम्मको यात्रामा निस्केका थिए । उनको यो यात्रामा हजारौं भारतीयले साथ दिएका थिए । गान्धीको ‘नुन सत्याग्रह’ लाई विजय थापाले ‘दाण्डी मार्च’ शीर्षक चित्रमा उतारेका छन् । ‘गान्धीको विभिन्न अहिंसात्मक आन्दोलनमध्ये दाण्डी गाउँसम्मको पैदल यात्रा विश्वका लागि प्रेरणादायी छ,’ उनले भने, ‘मलाई यसले असाध्यै छोएकाले चित्रमा उतारेँ ।’
स्वदेशी उत्पादनमा जोड दिन बेलायती उत्पादित वस्तु बहिष्कार गरेर गान्धीले परम्परागत धोती र आफैंले चर्खामा सुत काटेर बनाएको गम्छा लगाए । उनले चर्खा र खाँडीको प्रचार गरी भारतभर नै स्वदेशी उत्पादन र प्रेमलाई फिँजाए । जसले भारतीय जनतालाई एक जुट हुन र उनीहरूमा जागरण ल्याउने काम गर्‍यो । आधारभूत शिक्षा, चिकित्सकीय ज्ञानको उपयोगमा जोड दिएर उनले अंग्रेज शैक्षिक संस्था, सरकार अड्डा, अदालत, काम, सम्मान सबै कुरामा बहिष्कार गर्न भारतीय जनतालाई अग्रसर गराए । उनको ‘असहयोग आन्दोलन’ तथा ‘भारत छोड आन्दोलन’ मा जनताको अग्रसरताले ततकालिन अंग्रेज सरकार पछाडि हट्यो । गान्धीका यिनै कदमलाई आईबी मल्ल, उमाशंकर शाह, चिराग बाङ्देल, राजन पन्त, एरिना ताम्राकार, भीमप्रसाद शर्मा, देवेन्द्र थुम्केली, विपना महर्जन लगायतले चित्रमा उतारेका छन् ।
गान्धीको मूल मन्त्र सत्य र अहिंसालाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्यायले ‘अन द वे टु पिस’ शीर्षकमा नीलो रंगसहितको आकाशको पृष्ठभूमिमा गान्धी र स्वयम्भूलाई चित्रण गरेकी छन् । पृथ्वी श्रेष्ठले हातमा कमलको फूल र परेवा लिएका गान्धीको शान्ति र अहिंसाको दर्शनलाई दर्शाउने जमर्को गरेका छन् । त्यस्तै, सुष्मा शाक्य तथा महेन्द्र राईले स्वदेशी उत्पादनलाई जोड दिने गान्धीको चर्खा आन्दोलन र व्यक्तित्वलाई चित्रण गरेका छन् ।
फाउन्डेसनले गान्धीको स्मरणलाई कलामार्फत प्रस्तुत गरेको यो पहिलो प्रदर्शनी हो ।

कला र शैली

केसीले ल्याए 'भेन्टिलेटरमा आमा’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध संग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ । ‘खासमा यो मेरो सम्झनासंग्रह पनि हो,’ २९ वटा निबन्ध संग्रहित कृतिका बारेमा केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर केही बुन्न खोजेको छु । केही दिवंगत प्रिय मान्छेका बारेमा केही पृष्ठ अर्पण गरेको छु, बाल्यकाल र किशोरवयमा सयर गरेको छु, भोगाइ तथा जियाइसँग जोडिएका केही मुद्दा र सवालमा टिप्पणी गरेको छु ।’ निबन्धमा आफूले बाँचेको समय र समाजका मिठास र कटुता, जलन र शीतलता, प्रेम र क्रूरतालाई व्यक्त गरेको उनले बताएका छन् ।
लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै आएका केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरूद्वारा रुचाइएका लेखक हुन् । तिख्खर भाषामा व्यंग्यचेती गद्य लेखन उनको परिचय हो । उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनलगायत सिर्जनकर्ममा सक्रिय छन् । ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ । २०६९ मा केसीको कवितासंग्रह ‘भोकको क्षेत्रफल’ प्रकाशित भएको थियो ।

Page 18
खेलकुद

ओनर्स बक्सकी आवाज दीपा

- विनोद पाण्डे

(काठमाडौं) - अरू दिनका तुलनामा पोखरा राइनोजको हुटिङ अलिक मधुरो थियो । ‘होस्टेहैँसे, गैंडा आयो गैंडा, पोखरा राइनोज’ भन्दै ‘ओनर्स बक्स’ बाट उनीहरू आफ्नो टिमलाई हौस्याइरहेका थिए । सोमबार बजाज पल्सर एभरेस्ट प्रिमियर लिगमा पोखराले सामना गरिरहेको प्रतिद्वन्द्वी टोली काठमाडौं किंग्स इलेभेनलाई उनीहरू खिसी गर्न पनि पछाडि पर्दैनथे ।
आफ्नो टिमको समर्थन अनि विपक्षीविरुद्ध पनि पोखरा राइनोजका समर्थकको हुटिङ जारी थियो । यही समर्थकको हुलमा दीपा अग्रवाल पनि उत्तिकै जोसिलो देखिन्थिइन् । पोखरा राइनोजकी ओनर्स उनी अरू समयमा आफ्नो टिम व्यवस्थापन गर्नुपर्ने काठमाडौं किंग्ससँगको खेल चलिरहँदा समर्थकलाई व्यवस्थापन गरिरहेकी थिइन् ।
‘पोखराको गैंडा’ भन्दै समर्थकहरू विनोद भण्डारीको कप्तानी गरिरहेको टिमका लागि चिच्याइरहेका थिए । ‘कम हुटिङ त होइन खास, सानो स्वरमा हुटिङ चाहिँ गर्ने भनेका हौं,’ दीपाले भनिन्, ‘हामी आफ्नो खेलाडीसँग यस विषयमा छलफल पनि गरिरहेका हुन्छौं । हामीले हुटिङ गर्दा कस्तो असर पर्छ । उनीहरूलाई डिस्टर्ब हुन्छ कि जस्तो लाग्यो । क्रिकेट प्रायः शान्त वातावरणमा खेलिन्छ । टिमहरूले आफ्नो योजनाअनुसार खेलिरहेको हुन्छ । त्यसलाई प्रभावित हुन्छ भनेर हामीले हुटिङको आवाज घटाएका छौं तर कमचाहिँ होइन ।’ उनी आफ्ना समर्थकको हुटिङमा उत्साहको कुनै कमी नरहेको सुनाइरहेकी थिइन् ।
उपाधि दाबेदारमा गनिएको पोखराले सन् २०१८ को पछिल्लो ईपीएलमा खेलेका सबै ५ खेल गुमाएको थियो । त्यसले क्रिकेटलाई अझ नजिकबाट बुझ्ने मौका दिएको उनी बताउँछिन् । त्यसयता टोलीका मार्की खेलाडी शक्ति गौचनले संन्यास लिइसकेका छन् । विनोद भण्डारीलाई नेतृत्वको जिम्मेवारी दिइएको छ । पछिल्लोपल्ट पोखरामा रहेका राजेश पुलामी र सौरभ खनाल अन्य टोलीबाट चम्किएका छन् । पोखराले पनि नयाँ खेलाडीका रूपमा रित गौतम, विवेक यादव, रवीन्द्र शाही, किशोर महतो, अर्जुन कुमाल लिएर मैदानमा उत्रिएको छ ।
‘यसपालि हामीले घरेलु क्रिकेटको स्थिति नियाल्यौं र त्यहीअनुसार हामीले विदेशी खेलाडी छान्यौं । हाम्रो टिम अलराउन्ड छ,’ रिचर्ड लेभीबाहेक विदेशी खेलाडी पनि परिवर्तन गर्नुको कारण दिँदै दीपाले भनिन्, ‘लेभीलाई निरन्तरता दिनुका कारण गत सिजनमा उनले राम्रो खेलेका थिए । पहिला पनि हाम्रो टिम बलियो थियो, खाली खेल जित्न नसकेका हौं । तर खेल कहिले राम्रो हुन्छ, कहिले हुँदैन । नतिजा पनि कहिले राम्रो हुन्छ, कहिले हुँदैन । यसपालि हामीले घरेलु खेलाडीमा ध्यान दिएका छौं । हाम्रो क्रिकेट निर्देशक दीपेन्द्रजी (चौधरी) ले बनाएको योजनाअनुसार घरेलु क्रिकेटका राम्रो खेलाडीहरू ल्यायौं । विदेशीहरू पनि राम्रा छन् ।’
नतिजाभन्दा पनि प्रत्येक खेल कसरी भइरहेको छ त्यसलाई उनी महत्त्व राख्छन् । काठमाडौं किंग्ससँग खेलिरहँदा पोखरा प्लेअफमा पुगिसकेको थियो, तर क्वालिफायरमा निश्चित भएको थिएन ।
काठमाडौं किंग्समाथि जित हात पारे टोलीको क्वालिफायर पुग्ने सम्भावना बलियो हुने समीकरण थियो । यही बुझेर होला दीपा र उनको समर्थक समूहको हुटिङ जारी थियो ।
‘नतिजालाई सबैले महत्त्व राख्छ, प्रतियोगितामा भाग लिएपछि ट्रफी लिएर जान नै आएका हौं,’ आफ्नो टोलीलाई दीपाले उपाधि दाबेदारमा राख्दै भनिन्, ‘आफ्नो टिमको शक्तिलाई ब्रान्डका हिसाबमा बलियो बनाएर अगाडि बढाइरहेका छौं । भविष्यमा एकपल्ट जब हाम्रो टिम राम्रो बन्छ, त्यसपछि निरन्तर जित्दै जाने हो ।’ अहिलेको केही जितलाई उनले पछिल्लो पटकको ईपीएलसँग तुलना गर्दा पुनरागमनको रूपमा लिएकी छन् ।
दुवै टिमको ‘ओनर्स बक्स’ नजिकै जस्तै छ । काठमाडौं किंग्सको ‘ओनर्स बक्स’ मा गएर आफ्ना समकक्षीसँग जिस्किरहेकी पनि हुन्छिन् उनी । काठमाडौं किंग्सकी ओनर्स साक्षी गुप्तासँग उनी जिस्किँदै आफ्नै ‘ओनर्स बक्स’ मा आएर हुटिङबाट पोखरालाई हौस्याइरहेकी थिइन् । म्याचका बेला विपक्षीको क्षेत्रमा गएर के सल्लाह भयो ? उनले हाँस्दै सुनाइन्, ‘हाम्रो केही सल्लाह हुँदैन, जिस्किरहेका हुन्छौं । आज किन आउनुभएको, घर गए भइहाल्छ नि भनेर जिस्किन्छौं । पारिवारिक सम्बन्ध पनि भएका कारण जिस्किरहेका हुन्छौं ।’
उनले पोखरा राइनोज र काठमाडौं किंग्सकै पारिवारिक सम्बन्ध भएको जनाइन् । काठमाडौं किंग्सले दिएको १ सय ८३ रनको लक्ष्य पाएको पोखराले पावर प्लेको ६ ओभरमा ३६ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । दीपाको विश्वासपात्र दक्षिण अफ्रिकी लेभी पनि पेभेलियन फर्किसकेका थिए । खेल निर्णायक मोडमा पुग्दैथियो, वर्षाले प्रभावित बनाइहाल्यो । डकवर्थ लुइस पद्धतिमा पोखरा राम्रो स्थितिमा थियो । यही जितले टोलीलाई क्वालिफायरमा पुर्‍याएको थियो । स्थिति यस्तो आयो कि उनको ‘पारिवारिक टिम’ काठमाडौं किंग्स प्लेअफमै नपुग्ने खतरा बढ्दै गयो । धन्न, मंगलबार भैरहवा ग्लाडियटर्ससँगको खेल वर्षाले भिजेका कारण रद्द हुनपुग्दा काठमाडौं जोगिँदै प्लेअफमा सुरिक्षत भयो । खेल भएको भए जे पनि हुन सक्थ्यो ।
वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) मा दीपाको स्वामित्वमा महिला टिम छ । क्याट क्विन काठमाडौंको नामले खेलेको यो टोली दुई वर्षअघि भएको प्रतियोगिताको फाइनल पुगेको थियो । रुबिना क्षेत्री टोलीकी कप्तान एवं मार्की खेलाडी हुन् । टिम रबिनाले नै सबै व्यवस्थापन गर्ने हुनाले दीपा यसमा ढुक्क देखिँदै भन्छिन्, ‘रुबिनाकै कारण हामी सुरक्षित स्थितिमा छौं ।’
डब्लूसीएलमा क्याट क्विनमार्फत उनले महिला सशक्तीकरणमा धेरै जोड दिएको जनाउँछिन् । ‘ईपीएलमा पनि ६ टिममा ३ महिलाकै नेतृत्वमा छ । विस्तारै विस्तारै खेल नेतृत्वमा महिलाहरू आउँदै हुनुहुन्छ ।’ ईपीएलले प्रत्येक संस्करणसँगै एउटा उचाइ लिइरहेको छ । यसको एउटा भिजन भएकाले त्यसलाई पोखरा राइनोजले पूर्ण समर्थन गरिरहेको उनी बताउँछिन् ।
कोभिड–१९ को भयले हो कि मैदानमा दर्शक उतिसारो देखिएका छैनन् । काठमाडौं किंग्सले पहिलो दिनको खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध पाकिस्तानी सुपर स्टार साहिद अफ्रिदीलाई मैदानमा ओराल्दा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो । त्यसयता थोरै संख्यामात्र दर्शक ईपीएलको खेल हेर्न पुगेका हुन्छन् । दीपाको चिन्ता यसैमा छ ।
‘अन्तर्राष्ट्रिय खेल हामी टीभीमा यति हेर्छौं, आफ्नै देशमा यत्रो इभेन्ट हुँदा खेल हेर्ने मान्छे खासै देखिरहेका छैनौं । यसलाई ठूलो बनाउने हो भने हामीले नै सहयोग गर्नुपर्ने हुन्छ । हामीले पनि धेरै मिहिनेत गरेर अहिलेको स्थिति बनाएका हौं,’ उनी दर्शकको अभाव महसुस गरेकी छन् ।
कोभिड–१९ का कारण पोखराका समर्थक काठमाडौं आएका छैनन् । तर, पोखरामा राम्रै समर्थक रहेको दाबी गर्दै उनले भनिन्, ‘यसपालि हाम्रो जति पनि व्यवस्थापन भएको छ, त्यसमा पोखराको विभिन्न निकायले धेरै समर्थन गरेको छ । बतास समूहले बस व्यवस्थापन गरिदिएको छ । यसमा आर्थिक कुनै पाटो छैन, खुला हृदयको समर्थन हो ।’
ईपीएल व्यस्थापन गर्दा र टिमलाई मैदानमा उतार्दा दुई महिनामा सकिन्छ । खेलकुदमय पूरै सिजन बनाउनका लागि उनीसँग बाँकी १० महिनाका योजनाहरू पनि छन् । ती योजनाहरू उनी अहिले नै खुलासा गर्ने पक्षमा छैनन् । कामसँगै यी योजना सार्वजनिक गर्ने उनी सुनाउँछिन् ।

खेलकुद

घरेलु दर्शकको ‘पावर’

- कुशल तिमल्सिना,दीपक परियार

(पोखरा) - पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसलमा लिग चरणको अन्तिम दिन मंगलबार तीन खेल भए । पहिलो खेलमै फुटसल फाइभले प्रभातफेरी युथसँग ६–२ गोलको हार बेहोरेपछि घरेलु टोली सविन मेमोरियललाई प्लेअफमा पुग्न शंखमूल फुटसलविरुद्ध जित्नैपर्ने भयो ।
यो खेलअघिसम्म प्लेअफको आस मारेको सविन मेमोरियलको व्यवस्थापन टोलीले अन्तिम सम्भावनालाई अवसरमा प्रयोग गर्न एक बन्डल टिकट बुक गरेर आफ्ना शुभचिन्तक र समर्थकको फोन घुमाउन थाल्यो । ‘टिमको हौसला बढाउन तपाईंहरू कभर्डहल आउनुपर्‍यो, आज जिते प्लेअफ पुग्छौं,’ व्यवस्थापन टोलीको अनुरोध थियो ।
सयौंको संख्यामा घरेलु समर्थक ड्रम बजाउँदै कभर्डहल आइपुगे । खेलको सुरुदेखि अन्त्यसम्म आफ्ना खेलाडीलाई समर्थन गरिरहे । प्रतियोगिताकै उपाधि दाबेदार र लिगमा अहिलेसम्म नहारेको शंखमूललाई सविन मेमोरियलले ३–१ गोलमा
हरायो । दुवै टोलीका प्रशिक्षकले यो नतिजामा दर्शकको समर्थनलाई कारक मानेका छन् ।
पोखरा रंगशालास्थित कभर्डहलमा पोखरेली टोलीहरू स्पोर्टस क्यासल र सविन मेमोरियलका प्रायः खेलमा दर्शक यसैगरी आउँछन् । आफ्नो टिमको हौसलामा कुनै कसर बाँकी राख्दैनन् । यी टोलीहरूका लागि दर्शकले छैटौं खेलाडीको भूमिका निभाएका छन् ।
‘हामी लिगमा अपराजित रहने भन्ने सोचसाथ आएका थियौं । अन्तिम खेल हार्नुपर्दा निरास भएका छौं,’ प्लेअफ पुगिसकेको शंखमूलका प्रशिक्षक प्रकाश परियारले कान्तिपुरसँग भने, ‘हामीसँग यति ठूलो दर्शकमाझ खेलेको अनुभव छैन, त्यसमा पनि घरेलु दर्शकको यो उपस्थितिले हामीलाई कठिन भएकै हो ।’ शंखमूलले बुधबारको खेलमा पनि घरेलु दर्शककै कारण नतिजामा असर पर्न नदिन रणनीतिक तयारी गर्ने जनाएको छ ।
मंगलबारको खेल जितेको वा बराबरी गरेको भए शंखमूख अंकतालिकाको दोस्रो स्थानमा पुग्थ्यो । यसो हुँदा टोलीले बुधबार हुने पहिलो क्वालिफायरमा स्पोर्टस क्यासलसँग खेल्ने थियो । अब पहिलो क्वालिफायरमा क्यासल र धरानको राइजिङ क्लब तथा इलिमिनेटरमा शंखमूल र सविन मेमोरियलले खेल्नेछन् । पहिलो क्वालिफायर विजेता सोझै फाइनल पुग्नेछ । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । बुधबार, बिहीबार र शुक्रबार लगातार प्लेअफ र फाइनल चरणका खेल छन् । बुधबार पहिलो क्वालिफायर विजेताले शुक्रबार हुने फाइनललाई एक दिनको आराम पाउनेछ भने अन्य टोलीका लागि फाइनलसम्मको यात्रामा लगातार खेल्नुपर्नेछ । कम्तीमा एक दिनको आराम दिने गरी खेलतालिका हुनुपर्नेमा सबै क्लबको एकै स्वर रह्यो । तर नहुँदा उनीहरूले असन्तुष्टि जनाएका छन् । लिग र प्लेअफ चरणबीचमा कुनै दिन ‘रिजर्भ डे’ नभएपछि मंगलबार प्रतिस्पर्धा गरेका सविन मेमोरियल र शंखमूलमध्ये कुनै एक टोलीले फाइनलसम्म यात्रा तय गर्न लगातार ४ खेल खेल्नुपर्नेछ ।
शंखमूलका प्रशिक्षक परियारले रिकोभरी टाइमको अभावका कारण शतप्रतिशत प्रदर्शनलाई निरन्तरता दिन नसकिने बताए । हारका बाबजुद उनले आफ्नो टिमको प्रदर्शनप्रति गर्व गरे । ‘हाम्रो चिन्ता रिकोभरी टाइममै हो । किनभने खेलाडीले आज पनि शतप्रतिशत प्रदर्शन गरेका हुन् । समयमा गोल निस्किन नसकेको मात्र हो,’ उनले थपे, ‘हामीले भोलि नै खेल्नुपर्नेछ र यही टोलीविरुद्ध केही रणनीतिक सुधार गर्नुपर्नेछ । आजको खेलमा उहाँहरू काउन्टर एट्याकमा जानुभयो । त्यसैले पनि पछि परेको हो । भोलिको खेलमा शंखमूल फुटसलले जित्नेछ भन्नेमा विश्वास गरेको छु ।’
सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङका अनुसार आफ्नो टोलीले प्लेअफ पुग्ने लक्ष्य राखेको थियो । त्यसलाई सफल बनाउन उनले आफ्नो फुटबलको अनुभव प्रयोग गरे । ‘विपक्षी टिम र खेलाडीको नामले केही हुँदैन, त्यो दिन, त्यो समय जसले राम्रो खेल्छ त्यसैले जित्छ भनेर मैले खेलाडीलाई आश्वस्त बनाएँ,’ पूर्व फुटबलर र अहिले एन्फा कास्कीका ग्रासरुट प्रशिक्षक तामाङले भने, ‘उनीहरूले त्यहीअनुसार खेले । शंखमूल धेरै नै बलियो टोली थियो । उनीहरू सबै कुरामा राम्रो छन् । त्यसैले हामीले जित्ने एउटै रणनीति थियो, काउन्टर एट्याक । हामीले डिफेन्सिभ खेलेर काउन्टरमा गोल गर्न सक्यौं ।’
सविन मेमोरियलले चोटग्रस्त मुख्य स्कोरर अविनाश तामाङलाई सुरुआती सेटमै राखेको थियो । सुरुमै चोट बल्झेपछि उनलाई मनीष क्षेत्रीले प्रतिस्थापन गरे । छरितो कदका मनीषको प्रदर्शन नै शंखमूलमाथिको जित आधार बन्यो । त्यसबाहेक समिर प्रधानले पनि अग्रपंक्तिमा लोभलाग्दो प्रदर्शन दिए । अघिल्ला खेलमा प्रभावकारी नदेखिएका यी दुई खेलाडी सरप्राइज्ड प्याकेज बनेर निस्किए । प्रशिक्षक तामाङ दुवै खेलाडीको प्रशंसा गर्न चुकेनन् ।
सविन मेमोरियलले मंगलबार ६ खेलाडीमात्र मैदान पठाएको थियो । पाँचजना एकैपल्ट मैदानमा हुँदा एउटा खेलाडीले मात्र सब्स्टिच्युटमा पालो दिइरहेका थिए । टिमले राम्रो प्रदर्शन गरिरहेको स्थितिमा तामाङले कम अनुभवी खेलाडी उतार्ने जोखिम लिएनन् । तर, भोलि सोही टिमविरुद्ध खेल्नुपर्ने भएपछि नयाँ खेलाडीलाई पनि अवसर दिने उनले बताएका छन् । ‘आज सीमित खेलाडीले जित दिलाए । भोलि नै खेल्नुपर्दा उनीहरूलाई रिकोभरी टाइम पुग्दैन । त्यसैले नयाँ खेलाडी खेलाउने छु,’ प्रशिक्षक तामाङले भने, ‘भोलि नै हामीले शंखमूलसँग खेल्नुपर्नेछ । त्यो खेल आजभन्दा कठिन हुनेछ ।’
मंगलबार पहिलो खेलमा फुटसल फाइभले प्रभातफेरीसँग हारेपछि प्लेअफमा पुग्ने सुनौलो अवसर गुमायो । स्पोर्ट्स क्यासलसँगको अघिल्लो खेलमा प्रशिक्षक र गोलरक्षकले रातो कार्ड पाएको मूल्य फुटसल फाइभले यो खेलमा चुकायो । फुटसल फाइभले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
दोस्रो खेलमा सबैभन्दा कमजोर टोली झरना क्लबलाई ५–३ गोलले पराजित गरी ढुकु फुटसलले छैटौं स्थानमा रहेर लिग टुंग्यायो । ढुकुलाई उपाधिको मुख्य दाबेदार मानिए पनि लिगमा अपेक्षाकृत प्रदर्शन सकेन । प्रशिक्षक राज महर्जनले टोलीले अपेक्षाअनुरुप प्रदर्शन नसकेकोमा
सबैसँग माफी मागेका छन् । झरना भने लिग चरणका सबै खेलमा पराजित रह्यो । टोली एक अंक पनि जोड्न सकेन ।

खेलकुद

टाइगर्स र राइनोज भिड्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायरमा पोखरा राइनोजको सामना गर्ने भएको छ । ईपीएलको राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नका लागि क्वालिफायरमा खेल्ने प्रावधानअनुरुप बुधबार बिहान चितवन र पोखरा भिड्न लागेका हुन् ।
भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीच हुनुपर्ने मंगलबारको खेल टस हुन नपाई रद्द भएपछि सबै समीकरण तयार भएको थियो । यी दुई टोलीले नै बुधबार हुने दोस्रो खेल इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
चितवन पहिलो ४ खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको थियो । मंगलबारको नतिजाबाट १ अंक जोडेको भैरहवाले पोखरासँगै समान ७ अंक जोडेको थियो । तर सर्वाधिक खेल जितेको हिसाबमा पोखराले भैरहवालाई उछिनेर दोस्रो स्थान हात पार्दै क्वालिफायर तय गरेको हो । पोखराको ३ खेलको तुलनामा भैरहवाले दुई खेलमात्र जितेको थियो । भैरहवासँगको खेल नभएपछि १ अंक पाएको काठमाडौं किंग्स प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोली बन्यो । काठमाडौं किंग्स र ललितपुर प्याट्रियट्सको समान ३ अंक भए पनि काठमाडौं राम्रो रनरेटका कारण अगाडि रह्यो ।

खेलकुद

अर्जुन ट्रफी क्रिकेट कात्तिकमा

- कान्तिपुर संवाददाता


धनगढी (कास)– धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा धनगढी क्रिकेट एकेडेमीले अर्जुन ट्रफी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न लागेको हो । धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी कात्तिक २५ देखि प्रतियोगिता गरिने जानकारी दिइएको छ ।
प्रतियोगितामा १६ टोलीले भाग लिनेछन् । प्रतियोगितामा क्लब तथा क्रिकेट एकेडेमीले सहभागिता जनाउन सक्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । स्वर्गीय खड्का धनगढी क्रिकेट एकेडेमीका संस्थापक प्रशिक्षक हुन् । सुदूरपश्चिमको क्रिकेट विकासमा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Page 19
खेलकुद

अल्मुताइरीमा 'पक्कै केही छ’

- हिमेश

(माले, माल्दिभ्स) - केही खेलको बखान गरेर साध्य हुन्न । खेलको कथा बुन्न प्रयास गर्‍यो, कसरी सुरु गर्ने र कसरी अन्त्य गर्ने टुंगो नलाग्ने । केही लेख्यो कि त्यो पनि छुटेको छ, यो पनि छुटेको छ जस्तो भइरहने ।
नेपाल र श्रीलंकाबीच साफ च्याम्पिनसिप फुटबलमा सोमबारको खेल यस्तै थियो ।
माल्दिभ्सको राजधानी मालेको मध्यभागमा रहेको नेसनल स्टेडियममा जतिले यो खेल हेरे । सबैको निचोड थियो, यत्तिको सनसनीपूर्ण खेल सायद साफ च्याम्पियनसिपमा यसअघि भएको थिएन कि ? नेपालको हिसाबले हेर्ने हो भने त पक्कै भएको छैन ।
यो खेलमा श्रीलंका ३–२ ले पराजित रह्यो । तर, त्यो हार बिर्सेर श्रीलंकाली प्रशिक्षक आमिर एल्गरले दाबी गरे, ‘हामी पनि जित्यौं, हामी हारेनौं । खेलका क्रममा मेरा खेलाडीले आफ्नो विशेषता देखाए कि हामी पनि फुटबल खेल्न सक्छौं । हामी हारेका छैनौं ।’ धेरै भएको थियो श्रीलंकाली फुटबल सुस्ताएको । अहिले माथि उठ्ने प्रयासमा छ । ठीक यही बेला श्रीलंकाले नेपालविरुद्ध जस्तो चुनौती तेर्स्याएको थियो, त्यो प्रशंसनीय छ नै ।
त्यसैले एल्गरले भनेजस्तै, यो खेलका क्रममा सबै श्रीलंकाली खेलाडी र प्रशिक्षक निकै भावुक भए ।
हार्नेले यस्तो भन्छ भने नेपाल त झन्
जित्ने टिम ।
नेपाल खेलको अधिकांश समय गोलको आधारमा अगाडि नै रह्यो । तर, ढुक्क हुनसक्ने स्थिति बनेन । यस्तै दबाबबीच पनि नेपाली खेलाडीले मस्त खेलिरहे । त्यसैले नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि माने, ‘नेपाली फुटबललाई माया गर्ने सबैका लागि यो जित खुसी हुने अवसर हो ।’

फाइनल पुग्ने समीकरण
यो खेलपछि सबैले बुझ्न खोजेको तथ्य हो, अब के कसरी नेपाल साफको फाइनल पुग्न सक्छ ? सबै फाइनल समीकरणकै हिसाबमा अल्झिएको हुनुपर्छ । नेपाल आफूले खेलेका दुवै खेलमा विजयी छ । ६ अंकसहित अंकतालिकाको शीर्षस्थानमा छ । त्यसपछि बंगलादेशसँग ४ अंक छ । भारतको एक अंक भएको छ भने आयोजक माल्दिभ्स र श्रीलंकाले अंकको खाता खोलेका छैनन् । श्रीलंका लगभग दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिएको स्थितिमा छ ।
नेपाल फाइनल नजिक पुगेको भने पक्कै छ । यद्यपि केही निश्चित भइसकेको छैन । प्रशिक्षक अल्मुताइरीले ठीकै भने, नेपालको फाइनल पुग्ने सम्भावना एक प्रतिशतमात्र बनेको छ । यो ‘एक प्रतिशत’ खासमा सांकेतिक मात्र हो । यसको अर्थ हो, फाइनल अझै टाढा छ । नेपालका लागि फाइनलको बाटो के कस्तो हुने हो, त्यो तेस्रो दिनको खेलले निर्धारण गर्नेछ । त्यो दिन नेपाल मैदानमा उत्रने छैन । तर त्यसको नतिजा नेपालका लागि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।
तेस्रो दिन अर्थात शुक्रबार पहिलो खेल भारत र श्रीलंकाबीच हुनेछ । लगत्तै दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्नेछन् । अल्मुताइरीलाई विश्वास छ, यो दिनको खेलमा केही न केही आश्चर्यजनक नतिजा आउनेछ । त्यो भनेको यी दुई खेलको नतिजा नेपाल अनुकूल आए राम्रो । उनको चाहना यही छ ।
श्रीलंकाली प्रशिक्षक एल्गरको भनाइ पनि यहाँनिर उल्लेख गर्न आवश्यक छ । उनी भन्थे, श्रीलंका कहींकतै भास्सिएको छैन, भारतविरुद्ध अझ राम्रो खेल्न प्रेरित हुनेछ ।

सर्वाधिकमा अञ्जनको नजर
नेपाली फुटबलमा लामो समयदेखि ज्युँका त्युँ कायम रहेको एउटा कीर्तिमान हो, १३ गोलको । नेपाली राष्ट्रिय टोलीका लागि हरि खड्का र नीराजन रायमाझीले सबैभन्दा बढी समान १३ गोल गरेका छन् । यसको नजिक कमै खेलाडी पुगे । छुने स्थितिमा पुग्दा केही खेलाडी सेलाए । जस्तो, ११ गोल गरेका जुमनु राई अनि १० गोल गरेका भरत खवास । अहिलेका खेलाडीमध्ये विमल घर्तीमगरले ८ गोल गरिसके । मालेमै नेपाली टोलीसँगै रहेका नवयुग श्रेष्ठको नाममा पनि ७ गोल छ ।
यसबीच श्रीलंकाविरुद्ध दोस्रो गोल गरेका अञ्जन विष्ट भने त्यो कीर्तिमान छुने र पार गर्ने सपना बुनिरहेका छन् । विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध २ गोल गरेका यी अञ्जनले पछिल्ला ८ खेलमा ४ गोल गरिसके । उनी भन्छन्, ‘यो गोलको कीर्तिमान छुन सजिलो छैन, मैले अझै धेरै काम गर्नु छ । यसका लागि उत्तिकै मिहिनेत पनि चाहिन्छ ।’ उनी जुन वेगमा गोल गरिरहेका छन् । लाग्छ, यो उनको पहुँचमा रहन सक्छ । उनले भनेजस्तै यो काम पक्कै सजिलो छैन ।

प्रवासी खेलाडीका कुरा
श्रीलंकाविरुद्धको खेल जितेपछि प्रशिक्षक अल्मुताइरीले एउटा नयाँ बहस छेडेका छन् । यो प्रवासी खेलाडीलाई लिएर छ । श्रीलंकाले नेपालविरुद्ध तीन यस्तै प्रवासी खेलाडी उतारेको थियो । त्यसमध्ये मार्विन ह्यामिल्टनले दर्शनीय गोल नै गरे । उनी इंग्ल्यान्डमा जन्मेहुर्के । त्यतैको तल्लो डिभिजनमा खेले । अहिले उनी श्रीलंकाली राष्ट्रिय टिमका सदस्य भएका छन् । बंगलादेश त अझै एक पाइला अगाडि छ । उसले त नाइजेरियाली मूलकै खेलाडीलाई
आफ्नो बनाउने सुरसारमा छ ।
‘यो राम्रो कुरा हो,’ अल्मुताइरीले भने, ‘विश्व फुटबलमा अहिले यस्तै चल्छ । कसैको शरीरमा कुनै देशको रगत बग्छ भने उसले खेल्न पाउनुपर्छ । नेपालमा पनि यो परम्परा सुरु हुनुपर्छ ।’ उनले इटालीमा खेलिरहेका एक नेपाली मूलका खेलाडीसँग सम्पर्कमा रहेको दाबी पनि गरे । सम्भवतः उनी विकास मेरागलिया हुन् । र, सबथोक तय कार्यक्रमअनुसार हुने हो भने उनी आउने सहिद स्मारक लिग ‘ए’ डिभिजनमा च्यासल क्लबका लागि खैल्दैछन् ।

आक्रमणप्रति विश्वास गर्ने अल्मुताइरी
नेपाली टिम सम्हाल्ने निश्चित भएपछि प्रशिक्षक अल्मुताइरीले सबैभन्दा पहिले बोलेकै शब्दमा पर्छ, नेपालले अबदेखि रक्षात्मक फुटबल खेल्दैन, चाहे प्रतिद्वन्द्वी जत्तिकै बलियो किन नहोस् । त्यतिमात्र होइन, खेलमा अग्रता लिएको स्थिति वा पछाडि भए पनि खेल्ने आक्रामक फुटबल नै हो । सायद उनले यो रणनीतिमा नेपाली खेलाडीलाई धेरै हदसम्म अभ्यस्त पारेका छन् । त्यसैले त नेपालले खेल्दा अचेल गोल निस्कन थालेको छ । जबकि गोल नहुने समस्या नेपालको ‘खास रोग’ हो ।
अल्मुताइरीको नेतृत्वमा नेपालले ८ खेल खेलेको छ अहिलेसम्म । त्यसमध्ये तीनमा विजयी छ, चारमा पराजित र एकमा बराबरी । यी ८ खेलमध्ये नेपालले ६ खेलमा गोल गरेको छ । अझ पछिल्ला ४ खेलमा लगातार गोल गरेको छ । साफ च्याम्पियनसिप इतिहासमै नेपालले माल्दिभ्सलाई उसकै घरमा हराएको छ । अनि यो प्रतियोगिताकै इतिहासमा पहिलोपल्ट लगातार दुई सुरुआती खेल जितेको छ । यस्तोमा भन्नैपर्छ, यी प्रशिक्षकमा पक्कै केही छ ।
यिनी प्रायः विवादमा पनि परिरहन्छन् । बेला–बेला मिलाएर प्वाक्क–प्वाक्क बोलिरहन्छन् । फुर्सद पायो कि सामाजिक सञ्जालमा छाइहाल्छन् । तर, उनमा केही न केही विशेषता भएको हुनाले नै नेपाली टिम अहिले जीवन्त देखिएको छ । खेलाडी उनको गुनगान गर्न कन्जुस्याइँ गर्दैनन् । खेलाडीहरू भन्छन्, यसअघिका पारम्परिक प्रशिक्षकभन्दा उनी फरक छन् । खाली हामीलाई यस्ता प्रशिक्षकको बानी नभएको मात्र हो ।
तिनै खेलाडी अझ के पनि भन्छन् भने, अल्मुताइरीको नेतृत्वमा नेपालले अझ राम्रो गर्ने सम्भावना पूरापूर छ ।

खेलकुद

आर्मीमा यू–१३ एकेडेमीको सुरुआत

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– त्रिभुवन आर्मी फुटबल क्लबले पहिलोपल्ट युथ एकेडेमी सञ्चालनमा ल्याएको छ । एएफसी क्लब लाइसेन्स प्राप्त ‘ए’ डिभिजन टोली आर्मीले अखिल नेपाल फुटबल संघ (एन्फा) र सैनिक आवासीय महाविद्यालयबीचको त्रिपक्षीय सम्झौताअनुसार एकेडेमी स्थापना गरेको हो ।
आर्मी हेडक्वार्टरमा सोमबार उक्त एकेडेमीको औपचारिक उद्घाटन गरिएको छ । गत वर्ष आर्मीले एएफसी क्लब लाइसेन्स पाएको हो । लाइसेन्स पाएपछि क्लबमा यू–१३ र यू–१८ को टिम हुनुपर्ने अनिवार्य छ ।
एकेडेमीमा एन्फाले विभिन्न चरण छनोट गरेका खेलाडी रहेका छन् । तेस्रो चरणबाट छानिएका ४२ युथ खेलाडी (१३ वर्षमुनि) लाई तीन विभागीय क्लबमा १४–१४ खेलाडी गोलप्रथाबाट विभाजन गरिएको थियो ।
एन्फाबाट छानिएका १४ र विभिन्न स्थानका सैनिक महाविद्यालयबाट छानिएका ११ खेलाडी समावेश गरेर भदौदेखि प्रशिक्षण दिइएको आर्मीले जनाएको छ । एकेडेमीलाई खेलाडी उत्पादनको मुख्य स्रोतको रुपमा लिइने सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका महासेनानी शशिकिरण रायमाझीले बताए ।
एकेडेमीको उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले विलक्षण प्रतिभाका युवा खेलाडीलाई नेपाली सेनाले आफ्नो एकेडेमीमा राखेर प्रशिक्षण गराउन पाउँदा खुसी लागेको बताए ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गर्ने उद्देश्यमा ग्रासरुट कार्यक्रम ल्याइएको बताए । ‘एएफसी क्लब लाइसेन्सिङ सुरुआत आर्मीबाटै हुनु र युथ एकेडेमी पनि आर्मीबाट सुरु गर्न पाउनु नेपाली फुटबलका लागि सुखद पक्ष हो,’ अध्यक्ष शेर्पाले भने ।
उद्घाटनका अवसरमा एकेडेमी रहेका खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । आर्मीका खेलाडी भरत खवासको नेतृत्वमा ‘ए’ र जर्जप्रिन्स कार्कीको नेतृत्वमा ‘बी’ टिमले खेलेका थिए । त्यसमा खवासको टिम १–० ले विजयी भयो । युथ खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराइएको खेल सामग्री प्रदान गरिएको थियो ।

खेलकुद

कर्पोरेट ब्याडमिन्टन पुसमा हुने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कोरोना भाइरस महामारीका कारण स्थगित भएको ‘कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप’ कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता पुस ६ देखि ९ सम्म हुने भएको छ । यसअघि जेठमा तोकिए पनि महामारीको कारण स्थगित गरिएको थियो ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले सोमबार जारी गरेको विज्ञप्तिअनुसार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । कुल आठ लाख रुपैयाँ पुरस्कारको प्रतियोगितामा पाँच स्पर्धा समावेश गरिएको केबीएका सचिव दीपक थापाले बताए । कुमारी बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुष र महिलाका
शीर्ष वरीयताका खेलाडीसँगै कर्पोरेटका कर्मचारी र पदाधिकारीले ‘टिम गेम’ को रूपमा प्रतिस्पर्धा गर्नेछन् ।
गत पुस १७ मा स्थापित केबीएले उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यअनुसार नै देशकै मुख्य प्रतियोगिताको रूपमा काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता गर्ने योजना बनाएको छ । उसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले व्यावसायिक रूपमै युवा खेलाडीलाई नियमित प्रशिक्षण दिइरहेको छ ।

खेलकुद

कृषाविरुद्ध निमिशा विजयी

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोस्रो जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यू–१६ गर्ल्सतर्फ क्वाटरफाइनल पुगेका छन् । टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा मंगलबार निमिशाले कृषा अधिकारीलाई ६–१, ६–३ र शुभाङ्गीले आध्या पौडेललाई ७–६, ६–२ को सोझो सेटमा हराए ।
यू–१० गर्ल्सतफृ आयुशा जिसीले मालाश्री सिंहलाई ६–०, ६–० को सोझो सेटमा हराएर फाइनल तय गरिन् । फाइनलमा आयुशाको भेट शिभाली गुरुङसँग हुनेछ । शिवाली वाई पाएकी हुन् । यू–९ गर्ल्समा आयुशा जिसी, आयुश्रीहजुर घले, अनुश्री ध्वजु र मेरिसा थापा सेमिफाइनलमा पुगेका छन् । यू–१४ गर्ल्स सिंगल्समा प्राज्ना मानन्धर, समृद्धि महर्जन, जेनी खड्का, कृषा अधिकारी र कर्मिष्ठा श्रेष्ठ क्वाटरफाइन पुगे । सुनिरा थापा, आध्या पौडेल र प्रशंसा मोक्तान पनि वाई पाएर क्वाटरफाइनल
पुगेका छन् ।
यू–९ ब्वाइज सिंगल्स साम्खाहाङ राईले आर्यनराज पौडेललाई ४–१, ४–० र सन्जोग ब्लोनले विश्वविशेष डल्लाकोटीलाई ४–१, १–४, १०–८ ले हराएर उपाधि भिडन्त पक्का गरे । यू–१० ब्वाइज सिंगल्समा वृजेश अर्यालले सिद्धान्त प्रधानलाई ६–०, ६–०, आद्रित नेपालले आरभसम्राट हाडालाई ६–४, ६–१, शाश्वत वज्राचार्यले स्पर्स तिमल्सिनालाई ६–४, ६–३ र अविर श्रीवास्तवले आभाषनाथ श्रेष्ठलाई ६–०, ६–० को सेटमा हराए । शनिबार सम्पन्न हुने प्रतियोगितामा १४ स्पर्धा १ सय २५ खेलाडी सहभागी छन् ।