You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

टीकाको साइत

- कान्तिपुर संवाददाता

शुक्रबार १०ः०२ बजे
काठमाडौं (कास)– नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ । समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार महानवमी पर्व मनाइन्छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ ।

Page 2
समाचार

मुगुमा बस खस्दा कम्तीमा २१ को मृत्यु

- कान्तिपुर संवाददाता

मुगु (कास)– नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६८ नम्बरको बस मंगलबार दिउँसो मुगुको छायानाथरारा नगरपालिका–७ पिनाखोलामा दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । १८ जना घाइते छन् । दसैं मनाउन घर फर्कंदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३९ यात्रु सवार बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको थियो । बस क्षतविक्षत भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ७ महिला, १३ पुरुष र एक बच्चाको दुर्घटनामा परी ज्यान गएको छ । अधिकांश घाइते गम्भीर छन् । ‘मृतकहरूसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन सकेको छैन,’ प्रजिअ महतले भने । कठिन र भिरालो ठाउँमा दुर्घटना भएकाले मानवीय क्षति धेरै भएको उनले बताए । घाइतेहरूलाई उपचारका लागि दुई घण्टा दूरीको जिल्ला अस्पताल गमगढी पुर्‍याइएको छ । गम्भीर अवस्थाका घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरी अन्यत्र पठाइएको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए ।
प्रजिअ महतले ब्रेक फेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । प्रहरीका अनुसार बसमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थी बढी थिए । ‘बस पिनाखोलामै झरेको छ,’ प्रजिअ महतले भने, ‘मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो ।’ मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो । सडक साँघुरो र कच्ची हुँदा दुर्घटनाको जोखिम बढी छ ।

समाचार

दसैं भित्रियो, चामल आएन

- राजबहादुर शाही,हरि गौतम

(मुगु/रुकुम पश्चिम) - धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दसैंमै खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी नगर्दा खाद्य गोदाम
रित्तिएका हुन् ।
मुगुमा चालु आर्थिक वर्षका लागि खाद्यान्न कोटा भने साउनमै स्वीकृत भएको थियो । तर समयमै ढुवानी नगरिँदा ग्रामीण भेगका चारवटा खाद्य डिपो र दुई बिक्री केन्द्र दुई महिनाभन्दा बढी समयदेखि रित्तै छन् । गमगढीस्थित मुख्य खाद्य गोदाममा गत आर्थिक वर्षको करिब ४ सय क्विन्टल चामल मौज्दात छ । तर विशेष अवस्थाका लागि चाहिन सक्ने भन्दै सदरमुकामबाट पनि खाद्यान्न वितरण रोकिएको छ । अहिले श्रीकोट, पुलु, सोरुकोट, कालै र रातापानी खाद्य डिपोमा चामल रित्तिएको कम्पनीले जनाएको छ ।
गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल किनेर खानु परेको मुगमकार्मारोङ गाउँपालिकास्थित पुलुका छेवाङछेजुङ लामाले बताए । ‘घण्टौं हिँडेर डिपोमा चामल लिन गयो, कहिल्यै पाइने होइन,’ उनले भने, ‘डिपोमा चामल नपाइएपछि दोब्बर महँगोमा बजारको चामल किन्नुपरेको छ ।’ उनका अनुसार सोरु र मुगुमकार्मारोङ गाउँपालिकामा खडेरीका कारण यो वर्ष गहुँ उत्पादन निकै कम भएको छ । अत्यधिक चिसो हुने भएकाले दुवै गाउँपालिकाका अधिकांश भागमा वर्षमा एक बाली मात्र फल्छ ।
खाद्य डिपोमा २५ केजी चामलको बोरा १५ सय रुपैयाँमा पाइने भए पनि व्यापारीसँग २ हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता भएको सोरु गाउँपालिका–४ का चन्द्र नेपालीले बताए । ‘डिपोमा एक दाना चामल छैन,’ उनले भने, ‘ऋण काढेर भए पनि बजारको चामल किन्नुपरेको छ ।’
दसैंमा पनि स्थानीयलाई सरकारी अनुदानको चामल पाउन गाह्रो भएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘खाद्यान्नको चरम अभाव छ,’ उनले भने, ‘संघीय सरकारलाई पटकपटक आग्रह गरे पनि चामल पठाउन बेवास्ता भइरहेको छ ।’ चालु आर्थिक वर्षको नयाँ टेन्डर प्रक्रिया ढिलो हुँदा गोदामहरू रित्तिएको कम्पनीका निमित्त प्रमुख पुष्कर भामले बताए । ‘टेन्डरका फर्म काठमाडौं लिएर छानबिन गरी ठेक्का स्वीकृत गर्नुपर्ने भएकाले चामल ढुवानीमा ढिलाइ भएको हो,’ उनले भने, ‘टेन्डर स्वीकृत भएलगत्तै ढुवानीलाई तीव्रता दिइनेछ ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डोल्पा सदरमुकाम दुनैबाटै समेत चामल बिक्री रोकेको छ । गोदाम रित्तै भएपछि चामल लिन आएका स्थानीयवासी रित्तोहात घर फर्कन बाध्य भएका हुन् ।
दसैंमा पनि कम्पनीको जुफाल, सर्मी र लिकु डिपो पनि रित्तै छन् । धो, साल्दाङ, ढारगाउँ र सहरतारा बिक्री केन्द्रमा साउनदेखि चामल आएको छैन । कम्पनीका डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले गत आर्थिक वर्षको मौज्दात चामल सकिएकाले समस्या भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको चामल अझै आएको छैन । ‘स्थानीयहरू दैनिक चामल किन्न आइरहेका छन्,’
उनले भने, ‘तर चामल नभएपछि रित्तै फर्काउनुपरेको छ ।’
चालु आर्थिक वर्षका लागि डोल्पामा २० हजार क्विन्टल चामलको ठेक्का लागेको छ । दसैंका लागि भन्दै सुर्खेतबाट ३ सय ६० क्विन्टल चामल दुनैका लागि पठाइए पनि त्यो चामल बाटोमै छ । ‘अब दसैं लाग्यो भनेर सम्बन्धित ढुवानी सेवाका प्रतिनिधिले चामल बाटोमा राखेर घर गइसके,’ उनले भने, ‘दसैंपछि त जसोतसो चामल आउला ।’ भएको चामल कारागारका कैदी र जन्म तथा मृत्यु संस्कारका लागि मात्र राखिएको
उनले जनाए ।
कम्पनीका अनुसार नेपालगन्ज र सुर्खेतबाट ३ सय ६० क्विन्टल चामल डोल्पाका लागि पठाइएको चामल जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर पुगेको छ । नेपालगन्जबाट नमुना ढुवानी र सुर्खेतबाट एञ्जिला ढुवानी सेवाले चामल ढुवानीको जिम्मा लिएका छन् । ठेक्का सम्झौता ढिला भएको र लामो समय पानी परेकाले समस्या भएको ढुवानी कम्पनीको दाबी छ ।

समाचार

बाढीपीडितको दसैं खल्लो

- कान्तिपुर संवाददाता

(परासी) - सुनवल नगरपालिका–४ का सूर्यबहादुर श्रेष्ठको घर साउन १ को बाढीले क्षतविक्षत बनायो । शारीरिक रूपमा अशक्त श्रेष्ठ अहिले भत्किएको घर मर्मत गर्न लागिपरेका छन् । गाउँघरमा दसैंको रौनक छाएको छ । घरनजिकैको बस्तीमा पिङमा स्थानीय मच्चिएका छन् । तर उनलाई यो दसैं निकै खल्लो महसुस भएको छ । ‘भएको अन्नपात बाढीले बगायो, रोजगारी पनि छैन,’ उनले भने, ‘छाक टार्ने र छोराछोरीलाई नयाँ लुगा र मीठो खानेकुरा किन्ने उपाय छैन ।’ दसैंका बेला खुसीभन्दा आँखामा आँसु भरिएको उनले बताए ।
सुनवल–४ खकरीबारीकै बाढीपीडित सुकमाया विकलाई पनि यो दसैं नरमाइलो लागेको छ । वर्षौं मजदुरी गरेर बनाएको उनको घर पनि बाढीले भत्कायो । मर्मत गर्ने रकम नहुँदा जसोतसो गुजारा चलाइरहेकी छन् । गाउँमा दसैंको रौनक छ । तर उनी भने छोराछोरीको मुहार देखेर मन थाम्न सक्दिनन् । ‘अघिल्लो वर्ष त जसोतसो मजदुरी गरेर जम्मा गरेको रकमले दसैं मनाइयो,’ उनले भनिन्, ‘यस वर्ष बाढीले खुसी चुँडेर लगेको छ । अरूले दिएको कपडा लगाउनुपरेको छ ।’
जिल्लाको प्रतापपुर–६ स्थित कठहवाको मुसहर बस्तीमा पनि दसैंको कुनै रौनक छैन । बाढीले उराठ बनाएको बस्ती अहिलेसम्म राम्ररी तङ्ग्रिन सकेको छैन । संघसंस्थाले खाद्यान्न ल्याइदेलान् र दसैंमा मीठो खाऊँला भन्ने आशामा स्थानीय छन् । ‘हामी गरिबलाई केको दसैं र केको तिहार ? काम गरेर कमाएको दिनमा मीठै खान्छौं । काम नभएको दिनमा यत्तिकै भोकै बस्छौं,’ कलावती मुसहरले भनिन्, ‘यो वर्ष त झन् बाढीले जम्मा गरेको अन्नपात पनि बगायो, खुसीभन्दा पीडा धेरै छ ।’
साउन र भदौमा आएको बाढीले १ हजारभन्दा बढी घर डुबानमा परेका थिए । दुई जनाले ज्यान गुमाए । त्यसैले बाढीग्रस्त क्षेत्रका स्थानीयलाई दसैंमा नरमाइलो भएको हो । बस्तीमा बाढी पसेको केही दिन स्थानीय तह र संघसंस्थाले दिएको खाद्यान्नले गर्जो टारेका बाढीपीडितलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । बाढीपीडितका लागि भने स्थानीय तहले एक चरणको राहत वितरण गरे पनि अहिले केही गरेका छैनन् । ‘घर भत्किएका स्थानीयलाई १५ देखि ३० हजार रुपैयाँसम्म राहत रकम प्रदान गर्ने हाम्रो नीति छ,’ सुनवलका नगर प्रमुख भीमबहादुर थापाले भने, ‘दसैंका लागि भनेर त्यस्तो कुनै सहयोग गर्न सकिएन ।’

समाचार

चाडपर्वमा सडक छिचोल्नै मुस्किल

- सुवास विडारी

(मकवानपुर) - काठमाडौंबाट हेटौंडा हुँदै तराईका विभिन्न जिल्लामा जानेहरूले छोटो बाटोको रुपमा बल्खु–सिस्नेरी–भीमफेदी–हेटौंडा सडक प्रयोग गर्छन् । तर, यही सडकको भैंसे–भीमफेदी खण्ड स्तरोन्नति हुन नसक्दा यात्रु सास्ती बेहोर्न बाध्य छन् । एक वर्षअघि सडक चौडा पार्दै स्तरोन्नति थालिए पनि काम तीव्र गतिमा नहुँदा चाडपर्वमा हजारौं यात्रु मर्कामा परेका हुन् ।
भैंसे–भीमफेदी सडक खण्डको करिब ११.५ किलोमिटर सडक स्तरोन्नति पूरा हुन सकेको छैन । काठमाडौंबाट हेटौंडा हुँदै तराईका विभिन्न जिल्लामा आवतजावतका लागि यो सडक प्रयोग गरिन्छ । दसैंको समयमा घर फर्कने झन् बढेका छन् । हाल दैनिक करिब सात सयभन्दा बढी साना सवारीसाधनले यो सडक प्रयोग गर्छन् । ३ घण्टा ३० मिनेटमा काठमाडौं–हेटौंडा यात्रा गर्न सकिने भए पनि सडक अलपत्र हुँदा हाल ५ घण्टा लाग्ने गरेको सुमो चालकहरूले बताउँछन् । बीचबीचमा जाममा पर्नुपर्ने समस्या भएको उनीहरूको भनाइ छ ।
‘एक वर्षअघि सडक पुनर्निर्माण नहुँदा भैंसेबाट भीमफेदी पुग्न २० मिनेट लाग्थ्यो, अहिले सडक भत्काइएको र डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण १ घण्टा बढी समय लाग्ने गरेको छ,’ टाटासुमो चालक उमेश लामाले भने, ‘अघिल्लो दसैंमा हामीले दैनिक तीन पटकसम्म हेटौंडा–काठमाडौं आउजाउ गर्थ्यौं । यस पटक दुई पटकभन्दा बढी गर्न सकिएको छैन ।’
सडक पुनर्निर्माणका लागि यातायात पूर्वाधार निर्देशनालय वाग्मती प्रदेशले एक वर्षअघि ३२ करोडमा डिएस कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । दुई वर्षमा सडक चौडासहित पुनर्निर्माण सकाउने सर्तमा निर्देशनालयले डीएसलाई ठेक्का दिएको निर्देशक सहदेवबहादुर भण्डारीले बताए । अन्य स्थानमा काम तीव्र गतिमा अघि बढे पनि भीमफेदी गाउँपालिका–४ का स्थानीयले सार्वजनिक सडकमा समेत काम गर्न रोक लगाउँदा समयमै सोचेअनुसार काम हुन नसकेको भण्डारीले प्रतिक्रिया दिए । उनले ३.५ किमि सडक सहज भए पनि बाँकी यात्राका लागि सडक अलपत्र भएको स्विकारे । ‘सरकारले आवश्यकताअनुसार बजेट विनियोजन गरे पनि स्थानीयबाट सहयोग भएन । जसले गर्दा काम अलपत्र देखियो,’ भण्डारीले भने ।
डीएस कन्स्ट्रक्सनका सञ्चालक ध्रुव कार्कीले आफ्नोतर्फबाट काममा कुनै ढिलाइ नगरेको बताए । उनले सार्वजनिक जग्गामा समेत स्थानीय र जनप्रतिनिधिले काम गर्न नदिँदा समस्या खडा भएको बताए । ‘सडक स्तरोन्नतिका क्रममा भएका खाल्डाखुल्डीसमेत पुर्न दिइएको छैन,’ उनले भने, ‘हामी समयमै काम सक्ने प्रयासमा छौं ।’ डिभिजन सडक कार्यालय हेटौंडाले दसैंलगायत चाडपर्वलाई लक्षित गरेर हाल यस सडकमा सवारी गुड्न सक्ने बनाइएको दाबी गरेको छ । ‘हामीले यस सडकमात्र होइन । हेटौंडामा रहेको कार्यालयले आफ्नो कार्य क्षेत्रभित्र पर्ने मकवानपुर, बाराअन्तर्गत पूर्व–पश्चिम राजमार्गका समेत खाल्डाखुल्डी मर्मतसम्भार कार्य गरेका छौं,’ कार्यालयका सूचना अधिकारी लोमश उपाध्यायले भने, ‘दसैंलगायत चाडपर्व लक्षित गर्दै धेरै यात्रुवाहक सवारी साधन चल्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरेर भए पनि सवारी सञ्चालन गर्न सक्ने बनाएका छौं ।’ बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौंडादेखि लोथरसम्म र हेटौंडाको भैंसे हुँदै दामचौरसम्मका सडकका खाल्डाखुल्डी मर्मत गरिएको र त्यसका लागि संघीय सरकारबाट एक करोड बजेट प्राप्त भएको सूचना अधिकारी उपाध्यायले बताए ।

समाचार

शरणार्थी बा–आमाहरू एक्लाएक्लै

- कान्तिपुर संवाददाता

(पथरी, मोरङ) - तेस्रो मुलुक जान नपाएका वा नलगिएका भुटानी शरणार्थीको रहलपहल हूलमा ८० वर्षे पुण्यलाल अधिकारी पनि भेटिए– पथरी, शनिश्चरेको शरणार्थी शिविरमा । आफ्नो टहरोमा छिर्ने कल्भर्टमाथि बसेर बाँसको चोया काडिरहेका पुण्यलाल अमेरिका–क्यानडामा रहेका आफ्ना सन्तानबारेमा त्यति धेरै कुरा भन्न चाहिरहेकै थिएनन् ।
‘हामी यता टहरोमा बूढाबूढी मात्रै छौं,’ शरणार्थी शिविरको दैनिकी सुनाउँदै उनले भने, ‘यस्तै बसिबियाँलो गर्छौं, अन्नपात जुटाएर जीवन निर्वाह गर्छौं ।’ पुण्यलालका दुई छोरा अमेरिका र एक छोराको परिवार क्यानडा पुगेको धेरै वर्ष भएको रहेछ । मुटुको रोग, दमको समस्या भएकाले रोगीकित्तामा परेरै उनी भने तेस्रो देशमा जान नपाएका रहेछन् ।
सन् ९० दशकको सुरुवातमै भुटानबाट शरणार्थी बनेर आएका पुण्यलाल अझै पनि त्यही बेला भुटान छँदै दसैं–तिहारजस्ता चाडबाड खुलेर मनाएको मात्रै स्मरण गरिरहेका छन् । स–साना छोराछोरी हुर्काउँदा–बढाउँदाको संघर्षका माझ चाडबाडले दिने आनन्द उनले भुल्न सकेकै छैनन् । ‘अहिलेको के कुरा गर्नु नानी ?,’ उनले सुस्केराको भाकामा सुनाए, ‘चाडबाड सम्झेर न छोराछोरी आउँछन्, न हामीलाई बोलाउँछन् । कतिसम्म भने फोनसमेत गर्दैनन् । ‘यो जीवनमा ५ बजेको छ नानी, घाम डुब्नै लागेको छ । खोइ, सन्तानसँग अब के भेट होला र ?’
पथरीकै सीटु/२२ टहरोमा अर्की शरणार्थी लछिमाया खालिङ भेटिइन् जो आफ्ना सबै सन्तानको निधन भएपछि शिविरमै कुरुवाझैं बसिरहेकी छन् । उनका मामा–माइजू र आफन्तहरू अस्ट्रेलियामा भए पनि आफ्नो कहींकतै जाने वा कोही फर्केर आउने सम्भावना नरहेको उनले सुनाइन् । शिविरको बीटु/१५ टहरोमा शारीरिक रूपमा अशक्त आमा डोल्मा र बाबु विकास तामाङलाई दबाइपानी गर्दै बसिरहेका थिए, १९ वर्षे छोरा प्रितम । ‘हामीलाई विदेश जानु पनि मुस्किल छ, यही जीवन धान्न पनि निकै मुस्किल भएको छ,’ प्रितमले सुनाए, ‘कुनै चाडबाड कहिले आउँछ वा जान्छ पनि पत्तो हुन्न, आजको दिन कसरी बिताउने होला भन्ने मात्रै हुन्छ ।’ बाथ रोगका कारण हिँडडुलमै अशक्त बनेका बाबु र उच्च रक्तचापका कारण कुँजिएर बसेकी आमालाई रेखदेख गरेर प्रितमसहित २ छोरी प्रिती र प्रितिका पनि शिविरमै बसिरहेका छन् ।
सन् २०१६ बाट शरणार्थी पुनर्बसोबासको कार्यक्रम स्थगित भएपछि र गत जनवरीबाट शरणार्थीका लागि खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षा तथा अन्य राहत पनि आउन छाडेपछिको बिजोग स्थितिमाझ शिविरभित्र एक्लिएर बसेका बूढाबूढीको हालत अझ हेरिनसक्नु देखिन्छ । पुनर्बसोबासमा लैजाने मुलुकले पनि शारीरिक रूपमा अशक्त, एकल वा बुढ्यौली उमेरका शरणार्थीलाई अलपत्रै शिविरमा छाडेको स्थिति अझ कहालीलाग्दो देखिन्छ ।
पथरीकै सी/२५४ टहरोमा बस्ने ७५ वर्षीय दिलबहादुर तामाङ मानसिक समस्याले ग्रस्त भएको धेरै भइसक्यो । आफ्ना दाइलाई रेखदेख गरेर बसिरहेका भाइ कर्णबहादुरसहित सपरिवार अमेरिका जाने प्रक्रियामा लागिसकेका थिए । तीमध्ये २ छोराछोरी अमेरिका पुगिसके, यता ४ जना अड्किएका छन् । ‘खासमा दाइको एक जना छोरा भुटानमै बेपत्ता भएपछि उहाँ मानसिक रूपमा बिराम पर्न थाल्नुभएको थियो, यता नेपाल आएपछि झनै चापेको हो,’ दिलबहादुर भन्छन्, ‘यो शिविरमा बसेर चाडपर्व, रमाइलो मान्ने अवस्थै रहेन । रात त बित्यो, दिन कसरी बिताउने भन्ने भइरहन्छ ।’
यता दमक, बेलडाँगी शिविरमा पनि बांगे चौतारीको छेवैमा दिनभर कुर्सी राखेर बसिरहेका छन्– ८४ वर्षीय पूर्णबहादुर गुरुङ । ३० वर्षअघि भुटान गेलेफुबाट लखेटिएर आएका गुरुङका छोराछोरी अमेरिका पुगिसके, उनी एक्लै भने आफ्नो उमेर र कुनै दिन गेलेफु नै फर्कने सपना देखेरै शिविरमा अड्किएका छन् । एक जना ज्वाइँको भरथेगमा शिविरमा बसिरहेका उनलाई यो दसैंमा भने आफ्ना छोराछोरीले अमेरिकाबाट आउने भनेकोमा खुसीको मुद्रामा चुरोट पिइरहेका थिए । तेस्रो देशमा शरणार्थी पुनर्बसोबासको अभियान अघि बढेसँगै सामाजिक र पारिवारिक रूपमा एकल बन्दै गएका तथा विशेषतः बुढेसकालको शरणार्थी जीवन बिताइरहेका बाआमाका लागि पथरी शिविरमा ‘डे केयर सेन्टर’ पनि सञ्चालन गरिएको छ । पुनर्बसोबासमा परेर अमेरिका पुगेका शरणार्थी समुदायले खोलेको ‘इन्टरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को समन्वयमा सुरु भएको डे केयर सेन्टरमा अहिले झन्डै १ सय जना बुढ्यौली उमेरका वा एकल शरणार्थीहरू दिन बिताउने मेलो गरिरहेका भेटिन्छन् । ‘हामीले यहाँ सानो पुस्तकालय पनि राखेका छौं, चियानास्ता पनि ख्वाउँछौं,’ फाउन्डेसनका नेपाल संयोजक राम बानियाँ भन्छन्, ‘डे केयरमा बनाइएको हलमा मादल, चेस, टेलिभिजन राखिदिएका छौं । कहिलेकाहीँ अरू गतिविधि, प्रवचन आदि पनि हुन्छ ।’
यही संस्थाले दमकको बेलडाँगीस्थित शिविरमा पनि यस्तै हलसहितको डे केयर सेन्टर सञ्चालनमा ल्याउनै लागेको रहेछ । ‘हामीले ८० वर्षमाथिका शरणार्थी बुबाआमालाई मासिक ५ हजार रुपैयाँको पकेट खर्च पनि दिने गरेका छौं,’ फाउन्डेसनका सचिव सुरेन्द्र शेर्माले भने, ‘अहिले पनि बेलडाँगी शिविरका ९० र पथरीका २७ जना बुबाआमाले मासिक भत्ता पाइरहनुभएको छ ।’
संयोजक बानियाँका अनुसार दसैंतिहारजस्ता चाडबाडमा पनि शिविरमा रहेका एकल वा बुढ्यौली उमेरका बाआमाका लागि न्यास्रो मेटाउने प्रकारका सांस्कृतिक कार्यक्रम राख्ने योजना रहेको सुनाए । पछिल्लो समयमा भने कोरोना संक्रमणका कारण डे केयर सेन्टरमा भीड गर्न नदिइएको उनले सुनाए । यसरी एक्लिने वा बुढ्यौली बेहोर्ने बाआमाहरू दमक र पथरी गरेर १ हजारजतिको संख्यामा रहेको बानियाँले जानकारी दिए । दुई शिविरमा गरेर अहिले पनि ६ हजार ५ सयभन्दा बढी शरणार्थी भुटान घरफिर्ती वा पुनर्बसोबासमा तेस्रो देश जान पाइने आशा गरेर बसिरहेकै छन् ।

Page 3
Page 4
सम्पादकीय

दसैंको शुभकामना !

- कान्तिपुर संवाददाता


यो शरदको मौसम नै उसै उत्सवमय छ । मनसुनी वर्षा सकिएको छ, दिनहरू रमाइला र घमाइला बनेका छन् । न जाडो छ न गर्मी, घाम र शीतल दुवै प्यारो लाग्ने यो याममा प्रकृतिको वातावरण नै आनन्ददायक छ । त्यसमाथि थरीथरी फूलहरू फुल्दै छन्, फलहरूमा दाना भरिँदै छन्, खेतका फाँटहरूमा धानका बालाहरू झुल्दै छन् । देशकै प्रमुख पर्वहरू यही याममा पर्नु हाम्रो प्रकृति, पर्यावरण, खेतीपाती र संस्कृतिको सुखद संयोग हो । यो खुसीको मौसममा यति बेला हामी बडादसैं मनाइरहेका छौं । मित्रता, भाइचारा, पुनर्मिलन र आपसी सम्मान–प्रेमको यस पर्वमा हामी बृहत् पारिवारिक हर्षोल्लासमा मग्न छौं ।
त्यसो त, २०७६ पुसबाट सुरु भएको कोरोना भाइरसको महाव्याधिले यो पर्वको रौनकलाई पनि प्रभावित तुल्याएको छ । वैशाखयता मात्र ८ हजार जनाभन्दा बढीको निधन यही महामारीका कारण भएको छ, तिनका परिवार तथा प्रियजनहरू यति बेला आफन्त गुमाएको वेदनामा छन् । अर्कोतर्फ संक्रमण फैलिन सक्ने सम्भावनाका कारण सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ । ज्यान रहे अर्थात् स्वस्थ भइराखे पर्वहरू फेरि–फेरि पनि मनाउन सकिन्छ, जीवनलाई नै जोखिममा धकेल्ने गरी चाड मान्नुको के अर्थ ! त्यसैले स्वास्थ्य सवालमा सावधान रहनुपर्ने खाँचो छ ।
गत वर्ष त यो चाड यही महामारीकै कारण झनै फिक्का–फिक्काजस्तै थियो । यसपालि कोभिड–१९ विरुद्धको खोपका कारण मानिसहरूमा आत्मविश्वास बढेकाले हुन सक्छ रौनक बढेको देखिन्छ, बजारको भीड र काठमाडौंबाट जिल्ला–जिल्लामा फर्कनेको ताँती हेर्दा यही आभास हुन्छ । तर भुल्नु हुँदैन, अहिलेसम्म करिब २० प्रतिशतले मात्र दुवै मात्रा खोप लगाउन पाएका छन् । खोप लगाउनुपर्ने जनसंख्या अझै ठूलो छ । फेरि, खोप लगाएकैले पनि स्वास्थ्य सावधानीमा हेलचेक्य्राइँ गर्नु घातक हुन सक्छ । खोप लगाई नसकेकाहरू त अझ सतर्क रहनु अपरिहार्य छ । अर्कोतर्फ, अहिले पनि दैनिक ५ सयदेखि हजार जनासम्म संक्रमित भैरहेको तथ्य पनि सम्झनुपर्छ ।
त्यसैले किनमेलका निम्ति बजार निस्कँदा होस् या दर्शनका लागि शक्तिपीठहरू पुग्दा, लिंगेपिङ, रोटेपिङजस्ता गाउँ–टोल जम्मा भएर खेलिने खेल खेल्दा होस् या टीका–जमराका लागि पारिवारिक जमघट गर्दा, हरेकले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू अनिवार्य रूपमा अपनाउनुपर्छ । ताकि यिनै क्रियाकलापहरू भोलि संक्रमण फैलाउने अवसर नबनून् । स्वास्थ्य सावधानी अपनाउन सक्यौं र संक्रमणबाट जोगियौं भने हाम्रा आगामी दिनहरू पक्कै अझ उत्सवमय बन्नेछन् । त्यही भएर, यो दसैंलाई पर्याप्त सावधानीका साथ मनाऔं ।
शताब्दीयौं पुरानो यो चाडको धार्मिक र ऐतिहासिक पक्ष आफ्नो ठाउँमा छ, यससँग जोडिएका किंवदन्तीहरूका पनि आफ्नै अर्थ छन्, तर ती सबैबाट माथि उठेर दसैं बहुसंख्यक नेपालीको लोकचाड बनेको छ । परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिने हाम्रो संस्कृति आफैंमा अनुपम छ, अन्यत्रका हिन्दुहरूले यसै अवधिमा मनाउने पर्वभन्दा फरक छ । यिनै मौलिकपन र सांस्कृतिक तथा सामाजिक विशेषताहरूकै कारण दसैं देशकै ठूलो सांस्कृतिक पर्वका रूपमा स्थापित भएको हो, जहाँ सबै नेपालीहरू आफ्नो संकट भुलेर, आपसी वैमनस्य बिर्सेर रमाउने गर्छन् ।
१५ दिनभरि मनाइने यस पर्वको आज आठौं दिन हो । घटस्थापनाका दिन घरघरमा जमरा राखी दसैं सुरु हुन्छ । नवरात्रिभर शक्तिका प्रतीक विभिन्न देवीहरूको पूजा–आराधना गरिन्छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका लगाइन्छ । देशका केही भागमा यो दिन मात्रै टीका लगाइन्छ भने कतिपय ठाउँमा यो क्रम दसैंको पन्ध्रौं दिन अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यस क्रममा परिवारबाहिर प्रत्यक्ष भेटघाट गर्दा तथा टीका लगाउँदा मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका नियमहरूको पालना गर्न नभुलौं । सम्भव भएसम्म टाढैबाट सुस्वास्थ्यको आशीर्वाद र आशिषमा बढी जोड दिऔं ।
रोजीरोटीका निम्ति सहर पसेका र बिदेसिएकाहरू दसैंका अवसरमा घर फर्किन्छन् । मुलुकमा लामो सार्वजनिक बिदा पनि यही समयमा हुन्छ । अहिलेसम्म चाड मनाउन कति आफ्नो गन्तव्यमा पुगिसकेका छन्, कति पुग्ने क्रममा छन् । यसरी दसैं पारिवारिक पुनर्मिलनको खास पर्वका रूपमा रहेको छ । मीठो खाने, राम्रो लाउने र रमाइलो गर्ने चलन रहेकाले यसपर्वको आर्थिक महत्त्व पनि उत्तिकै छ ।
नेपालीको यो खुसीको चाडमा सरकारका तर्फबाट भने कुनै भरथेग छैन । नागरिकहरू जसरी–तसरी तथा सकी–नसकी रमाइरहेका छन्, आ–आफ्नो परिवारमा खुसी बाँडिरहेका छन् । ‘लकडाउन’ र निषेधाज्ञाले नोकरी र आम्दानी गुमाएका नागरिकहरूलाई झनै मार पर्ने गरी बजार भाउ बढिरहँदा पनि सरकारले नियन्त्रण गर्न सकेको छैन । झन् यही बेला सार्वजनिक यातायातको भाडा पनि अचाक्ली बढेको छ । उसै त सार्वजनिक यातायातको सुलभ पहुँच छैन, त्यसमाथि यसपालि संक्रमणको जोखिम छ, त्यसैले जोकोहीले सावधानीपूर्वक यात्रा गर्न आवश्यक छ ।
जेजस्तो अवस्था भए पनि, आफ्ना सबै दुःख भुलेर नेपालीहरू दसैं मनाउँछन्, आपसमा रमाउँछन्, रमाइरहेका छन् । खालि यस क्रममा दौडादौड र भीडभाड कम गरौं, सानोतिनो जमघटमा पनि मास्क पहिरिन र व्यक्तिगत दूरी कायम राख्न नभुलौं । सानो हेलचेक्य्राइँले ठूलो जोखिम निम्त्याउन सक्छ भन्ने तथ्यको हेक्का राखौं । जोगिएर पर्व मनाऔं, ताकि हाम्रा आगामी हरेक दिन उत्सवमय भैरहोस् । बडा दसैंको पावन अवसरमा सबैलाई हाम्रो हार्दिक शुभकामना !

सम्पादकलाई चिठी

न्याय र नैतिकता

- कान्तिपुर संवाददाता


लामो समयको प्रतीक्षापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिए । कुनै चलचित्रको मूल पात्रजस्तो, गाउँखाने कथाजस्तो वा अहिले विद्यार्थी भाइबहिनीलाई गाउँपालिकाको एकदिने अध्यक्ष बनाएजसरी बिचरा गजेन्द्र हमाललाई ४० घण्टे नमुना/सांकेतिक मन्त्री बनाइयो । पञ्चायतकालमा दशरथ रंगशालामा भएको भागदौडमा दर्जनौं मानिसको मृत्यु भएपछि केशरबहादुर विष्टले राजीनामा दिएका थिए । राजाले किन दिएको भन्दा ‘नैतिकता सरकार π’ भनेर सरकारको बचाउ गरेका थिए । हाम्रै छिमेकी देशबाट ठूला रेल दुर्घटना हुँदा पर्यटनमन्त्रीले राजीनामा दिएको समाचार आउने गरेका छन् । विकसित देशहरूमा ससाना हेलचेक्य्राइँ वा विवादको विषय जनतामाझ पुग्नासाथ जिम्मेवार व्यक्तिले राजीनामा दिने अभ्यास छ । हाम्रोमा भने यस्तो अभ्यास भएन ।
हमालको नाम प्रधानन्यायाधीशसँग जोडिरहेकै थियो, ओलोचना भइरहेकै थियो, तैपनि उनलाई मन्त्री बनाइयो । जनताको अन्तिम आशा र भरोसाको केन्द्र न्यायालयमा पनि राजनीतिक दलको सिफारिस र चाहनामा भाग्य अजमाउन जानेको संख्या बढेपछि यसको प्रभावस्वरूप ‘दलीय छाया’ देखिनु नौलो होइन । मन पर्दा चुपचाप, मन नपरे वा भनेको नमाने महाअभियोगको तरबार छँदैछ । पछिल्लो दशकका विकसित न्यायको भागबन्डे संस्कारलाई अन्त्य नगरेसम्म न्यायालयको छवि उचो होला भनेर कल्पना गर्नु व्यर्थ छ । भारतमा विशिष्ट योग्यता र क्षमता भएकालाई सीधै सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास छ । हामीकहाँ पनि त्यो अभ्यास किन नगर्ने ? तर यहाँ दल, बार र हिजोको दरबारजस्तै अनेक शक्तिकेन्द्रको चलखेलमा योग्यले अवसर नपाउने, दैलो चहार्नेको भाग्य खुल्ने अवस्था छ ।
कुनै समय जिल्ला न्यायाधीशले समेत वर्षौं पुरानो कोट लगाएका बाबुलाई छोराले नयाँ लगाउन सुझाउँदा ‘मैले लगाएको नयाँ लुगा दरबारले थाहा पाउँछ, शंका गर्छ’ भनी एउटा कोट फेर्नसमेत ‘माथि’ भनेर त्राहिमाम् हुने गर्थे । अहिले हाम्रा अधिकांश सार्वजनिक पदधारीको आर्थिक हैसियत, पृष्ठभूमि हेर्दा व्यापारी घराना र नवढनाड्यको ‘प्रोफाइल’ बन्छ । बनाउने र बन्नेको होडबाजी छ यहाँ हाम्रा ठूला–ठूला संस्थागत नियुक्तिमा । खासमा प्रधानन्यायाधीशज्यूले यत्तिको विवाद आएपछि मन्त्रीले भन्दा पहिले आफैंले राजीनामा दिनुपर्ने हो । दोस्रो, पूर्वप्रधानसेनापतिले सुरु गरेको अभ्यासझैं जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरण अभ्यासको थालनी गर्नुपर्छ । तेस्रो विशेष आग्रह, राज्यले ६ जना भीभीआईपीलाई मात्र कालो सिसा सवारीसाधनमा राख्ने अनुमति दिएको छ । निजी सवारी आधाजसोमा कालो सिसाको जगजगी छ । पूर्णतः पारदर्शी सिसा राख्ने नियम मोटरसाइकलसम्ममा लागू गराउनुपर्छ । कालो सिसामा अपारदर्शी भएर सार्वजनिक वा निजी व्यक्ति चढ्नुभएन । न्यायाधीश सकेसम्म कुनै पारिवारिक भोजभतेरमा समेत जानु हुन्न भनिन्छ । तर, हाम्रा पूर्व न्यायमूर्तिहरू भ्रष्ट छवि भएकासँग बसेर भोज खाएका समाचार आउँछ, विलासी गाडी सुविधामा मोह जागेका, दलीय गठबन्धनको आग्रहमा अन्तरिम सरकार प्रमुखसम्म भएर न्यायालयको छविलाई धूमिल बनाउन योगदान पुर्‍याउँछन् । अरूलाई न्याय दिने, सरकार र जनतालाई दण्ड, सजाय र नैतिकता सिकाउने निकायका व्यक्ति हरपल नैतिकवान हुनुपर्छ ।
– श्रीकृष्ण राजवंशी, सुनकोसी–३, सिन्धुली

सम्पादकलाई चिठी

नयाँ पुस्तालाई नेतृत्व

- कान्तिपुर संवाददाता

 

नेपालका प्रमुख दलहरू अहिले महाधिवेशनको चटारोमा छन् । यो महाधिवेशनले दलहरूको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँछ भन्ने आमअपेक्षा छ । महाधिवेशनमा दलका मूल विचारधारा, सिद्धान्त, नेतृत्वका कमीकमजोरीहरू एवं सबल पक्षका अतिरिक्त दलको भावी कार्यदिशाका बारेमा समेत स्पष्ट हुनु जरुरी छ । मूल्यमा आधारित राजनीति क्रमशः लोप हुँदै गएको छ । जग्गा दलाल तथा म्यानपावर सञ्चालकहरूको पन्जामा राजनीतिक संयन्त्र फस्दै छ । राज्यका लोकतान्त्रिक खम्बाहरूमा दलालहरूको छाया पर्न थालेको छ । राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर भएको छ भन्ने आरोप छ । राजनीतिक एवं प्रशासनिक उत्तरदायित्वको अभाव महसुस हुन थालेको छ । नेताहरूको बोली र व्यवहारमा एकरूपता छैन । देशको रूपान्तरणका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ । साँच्चै समाजको बानी–व्यहोरा र संस्कारलाई देशको नेतृत्ववर्गको संस्कारले असर पार्छ । अब सामाजिक रूपान्तरणका लागि जबरजस्त कदम चाल्नुपर्छ । त्यसका लागि असल नियतको राजनीतिक हस्तक्षेप जरुरी छ ।
राजनीतिक दलहरू सधैं आन्तरिक कलहमा रुमलिएको पाइन्छ । दलहरूले विकासका बहस चलाउन र विकासका लागि निकास दिन असफल भए भन्ने आरोप पनि छ । राजनीतिक दलले आफ्नो
पद्धति र संरचनाबारे गम्भीर समीक्षा गर्ने बेला आएको छ । सबै राजनीतिक दलहरूले निर्वाचन प्रणाली महँगो भयो भनेको सुनिन्छ । अब सबै मिलेर निर्वाचन प्रणालीको सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ । सम्भ्रान्तहरूले सरकारलाई गाली गर्ने, अधिकार खोज्ने, विभिन्न बहानामा राज्यको स्रोत दोहन गर्न इच्छा राख्ने तर आफ्ना दायित्व निर्वाह नगर्ने प्रवृत्ति आम रूपमा फैलिएको छ । सरकारी जागिर खाने तर निजी क्षेत्रमा गएर सेवा गर्ने आमप्रवृत्ति मौलाएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र राज्य प्रणालीलाई बलियो बनाउन नेतृत्वको चासो कम छ । त्यसकारण दैनिक कारोबारका लागि होइन अब रूपान्तरण गर्ने नेतृत्वको आवश्यकता छ ।
– कृष्णप्रसाद सापकोटा, फलेबास–८ पर्वत

राजनीतिक दलका शीर्ष नेताहरूले युवाहरूलाई सधैं आफ्नो स्वार्थ पूर्तिका लागि मात्र प्रयोग गरिरहे । उनीहरूको सुझाव–सल्लाह सुन्नेभन्दा पनि तिनको प्रयोग कसरी आफूअनुकूल गर्ने भन्नेमै ध्यान गइरह्यो ।
अहिले नेपालका प्रायः ठूला दलको महाधिवेश संघारमै छ, कतिको त प्रत्रिया पनि सुरु भइसक्यो । यस्तोमा युवाहरू नेतृत्वमा आऊन्, दलहरूले नयाँ नेतृत्व पाओस् भन्ने सुवेच्छा आम नेपालीको छ । यस्ता अपेक्षालाई राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले पूरा गर्नुपर्छ । अबका पुस्तासँग देश हाँक्ने नवीन योजनाहरू हुन्छन्, पुरानाको क्षमता त परीक्षण भइसक्यो । त्यसैले पनि दलभित्रका परीक्षण हुन बाँकी नेताहरू यसपालिको महाधिवेशनमा अघि आउनुपर्छ ।
अब पनि युवाले राजनीतिक हस्तक्षेप नगर्ने हो भने देशको भलो हुन्न । भएका परिवर्तनहरू पनि काम नलाग्ने हुन सक्छन् । अब युवाहरूले दलको सीमित घेराभन्दा माथि उठेर देश र जनताको समुन्नतिका लागि काम गर्ने प्रण गर्नुपर्छ । राजनीति असाध्यै महत्त्वपूर्ण संस्कार हो, यसले हरेक समाज र नागरिकको भविष्य निर्धारण गर्छ । तर, हाम्रोमा राजनीति समाज परिवर्तन गर्ने माध्यमभन्दा पनि आ–आफ्नो स्वार्थ पूरा गर्ने तथा राज्य संरचनामा पुग्ने अवसर पाए, यसको जमेर दोहन गर्ने औजार बन्न पुग्यो । सिद्धान्त, निष्ठा र इमान यसबाट गायब भयो । यसकै कारण हामी विश्व मानचित्रमा निकै गरिब राष्ट्रको रूपमा चिनिन्छौं । यस्तो पहिचान मेटाउन पनि राजनीति अब विचारमा आधारित हुनुपर्छ । र, यसलाई नयाँ तरिकाले बढाउन राजनीतिक दलको नेतृत्वमा नयाँ, जुझारु नेताहरू आइपुग्नुपर्छ । अबको महाधिवेशनमा सहभागी हुनेहरूले यस विषयमा ध्यान दिनुपर्छ । पुराना नेताहरूलाई प्रश्न गर्दै, ससम्मान बिदा दिनुपर्छ, नयाँलाई अवसर दिनुपर्छ ।
– प्रमोदकुमार पौडेल, सीतापाइला, काठमाडौं

दृष्टिकोण

किन असफल हुन्छन् ठूला आयोजना ?

- मैना धिताल

 

मन्त्रिमण्डल विस्तारपछि अर्थमन्त्री जनार्दन शर्मा र नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आयोजनाहरू समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । शर्माले सार्वजनिक निर्माण कार्य दिउँसो र राति गरी दुई सिफ्टमा गर्नुपर्ने प्रावधान ल्याउन लागेको जानकारी दिएका छन् । उता झाँक्रीले सहरी विकासको बजेट खर्च हुन नसकेर फ्रिज भएको सुन्न नपरोस् भनी कर्मचारीलाई सचेत गराएकी छन् । आफू बच्चा हुँदा शिलान्यास भएको देखेको पूर्वाधार विकास आयोजना बूढो हुँदा पनि सकिएको देख्न नपाउने अवस्था छ । यस्तो पृष्ठभूमिमा मन्त्रीहरूको निर्देशनबाट काम भइहाल्छ भनेर विश्वस्त हुन अलि गाह्रो छ ।
राष्ट्रिय गौरव भनिएका आयोजनाको उपलब्धि निराशाजनक छन् । बीपी राजमार्ग सुरु भएको २० वर्षपछि बल्ल पिच भयो । २५ वर्षमा बल्लतल्ल परीक्षणका रूपमा काठमाडौंमा पानी झार्दै गरेको मेलम्ची बाढीपहिरोको चपेटामा परेर फेरि अनिश्चित बन्न पुगेको छ । सन् १९९६ मा आशयपत्र मागिएको फास्ट ट्र्याकको निर्माण २५ वर्षपछि पनि अझै सकिएको छैन । दोष दिनकै लागि १० वर्षे लामो सशस्त्र द्वन्द्व, संक्रमणकाललगायतका राजनीतिक समस्या देखाउन त सकिएला, तर आयोजनाको असफलता धेरै पक्षसँग जोडिएको छ ।

मुख्य कारण
नेसनल जिओग्राफिकमा २० नोभेम्बर २०१७ मा प्रकाशित केइथ स्केइन्डरको लेखमा उल्लेख छ— पछिल्लो समय पर्यावरणीय जोखिम, सरकारी नीति, नागरिक तहबाट हुने विरोध, तीव्र रूपमा बदलिँदो पर्यावरण एवं राजनीतिक अवस्था र लागत वृद्धिले विश्वभरि नै ठूला आयोजनाहरू असफल हुन पुगेका छन् । यस्तै, युरोपियन युनियनले हालै गरेको एउटा अनुसन्धानले पनि विशालता, आकर्षण, महँगो लागत, विवादास्पद र जटिलताका कारण आयोजना सम्पन्न गर्न कठिन हुने गरेको औंल्याएको छ ।
‘कन्स्ट्रक्सन डिलेज इन डेभलपिङ कन्ट्रिज ः अ रिभ्यु’ शोधपत्रमा महम्मद साइफल इस्लाम र बामबाङ त्रिगुनर्स्यले उल्लेख गरेअनुसार, दक्षिण तथा दक्षिणपूर्व एसियामा ज्यादातर निर्माण आयोजना असफल वा ढिलो हुनुका मुख्य कारण व्यवस्थापकीय र आर्थिक पक्ष नै हुन् । उदाहरणका लागि, भारतमा अपर्याप्त योजना तथा तालिका, परियोजना क्षेत्रको अप्रभावकारी व्यवस्थापन, आयोजनाका मुख्य पक्षहरूबीच कमजोर सूचना आदानप्रदान, अपूर्ण ठेक्का व्यवस्थापन आदि निर्माण ढिलाइका मुख्य कारण रहेको उनीहरूले औंल्याएका छन् । बंगलादेशमा पनि लगभग यस्तै समस्या छ । त्यसबाहेक सस्तो ठेकेदार चयन र आर्थिक कठिनाइजस्ता थप समस्या बंगलादेशले भोग्ने गरेको छ ।
नेपालका सन्दर्भमा पनि यी सबै लागू हुन्छन् । सन् २००६ मा प्रकाशित गोविन्दराम अग्रवालको ‘प्रोजेक्ट म्यानेजमेन्ट इन नेपाल’ अध्ययनले देखाएअनुसार अस्पष्ट नीति र उद्देश्य, कमजोर संस्थागत क्षमता, उपभोक्ता समुदायको असंलग्नता, आयोजना डिजाइनमा त्रुटि, आयोजना स्वीकृति कन्सल्ट्यान्ट नियुक्ति तथा सार्वजनिक खरिद र ठेक्का सम्झौतामा ढिलाइ नेपालमा आयोजना असफलताका मुख्य कारक हुन् ।
यस्तै, भ्रष्टाचारको मुख्य स्रोत बन्न पुगेका विकास आयोजनाहरू भ्रष्टाचारकै कारण प्रभावित हुने गरेका छन् । कन्सल्ट्यान्ट नियुक्ति, ठेक्का सम्झौता, आयोजनासम्बद्ध वस्तु तथा सेवा खरिद प्रक्रियाका क्रममा नै बढी भ्रष्टाचार हुने गरेको पाइएको छ । र, आयोजनाका भ्रष्टाचार ज्यादातर राजनीतिक तहमै हुन्छन् र त्यसका कारण निर्णय प्रक्रियामा ढिलासुस्ती, गुणस्तरहीन नतिजा, लागत र समय बढी लाग्नेजस्ता समस्या देखिन्छन् ।
सरकार र राजनीतिक स्वार्थअनुसार आयोजनाको नेतृत्व गर्ने प्रमुखहरूको नियमित परिवर्तन अर्को समस्या हो । उदाहरणका लागि, माथिल्लो सगरमाथा विकास आयोजनाको सुरुदेखि अन्त्यसम्म हेर्दा तेह्र जना ‘प्रोजेक्ट म्यानेजर’ बदलिए । विजय महतो थारूको ‘प्रोजेक्ट फेलियर इन नेपाल’ शोधपत्रका अनुसार दोस्रो सिँचाइ क्षेत्र आयोजना, मेलम्ची खानेपानी आयोजना र तेस्रो सडक सुधार आयोजनामा प्रोजेक्ट म्यानेजरले नियुक्ति पाएको दुई वर्षभन्दा बढी काम गर्न पाएनन् । नेपालमा ऋण स्वीकृति भएपछि कन्सल्ट्यान्टको नियुक्ति गर्न औसत दस महिना लाग्ने गरेको छ ।
भूराजनीतिक स्वार्थका कारण पनि कतिपय विकास आयोजना प्रभावित हुन पुगेका छन् । नेपालका धेरैजसो ठूला आयोजनाहरू विदेशी सहयोगमा निर्भर छन् । पछिल्लो समय खास गरी अमेरिका, चीन र भारतको भूराजनीतिक स्वार्थको खिचातानीमा विकास आयोजना र विदेशी सहयोगका कार्यक्रम पर्ने गरेका छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई), मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा देखिएको विवाद र ध्रुवीकरण त्यसका पछिल्ला उदाहरण हुन् ।

बिनातयारी घोषणा, सकिन वर्षौं
बिनातयारी र स्रोत–साधनको जोहो हतारमा आयोजना घोषणा गर्ने राज्यको प्रवृत्तिले पनि आयोजनालाई धेरै वर्षसम्म हल्लाइरहेको छ । काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्र्याक) यसको एउटा गतिलो उदाहरण हो । सन् १९९६ मै बिनातयारी सरकारले आशयपत्र
आह्वान गरेको थियो । जबकि त्यति बेला आवश्यक ऐन पनि थिएन । सन् २००६ मा गएर बल्ल पूर्वाधार निर्माण र सञ्चालनमा निजी लगानी ऐन ल्याइयो । यसको डिजाइन, सञ्चालन र व्यवस्थापनमा पनि धेरै पटक परिवर्तन भयो ।
‘स्पटलाइट’ मा सन् २०१४ मा प्रकाशित चन्द्रबहादुर श्रेष्ठको ‘काठमाडौं–तराई फास्ट ट्र्याक ः फ्रम ननस्टार्टर टु नेसनल प्रोजेक्ट’ लेखअनुसार सन् १९९६ मा सरकारले जग्गा मात्रै लिने र निर्माणकर्ताले नै बाँकी जिम्मेवारी लिने मनसाय राख्यो । तर, २००८ र २०१० मा आएर फेरि निर्माणकर्ताले नै टोल उठाएर खर्च उठाउने भन्ने भयो । फेरि सन् २०१२ मा कुल पुँजीगत लागतको १५ प्रतिशतसम्म अनुदान दिन सरकार सहमत भयो । तर सन् २०१४ मा भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आईएल एन्ड एफएस) ले न्यूनतम सवारी आवतजावतको ग्यारेन्टी सरकारले गर्नुपर्ने भन्दै स्वस्फूर्त रूपमा हालेको प्रस्ताव सरकारले स्वीकृत गर्‍यो । ‘त्यसपछि सन् २०१४ मै सरकारले थप आह्वान गरेपछि अरू तीन प्रस्ताव पेस भए’, लेखमा भनिएको छ, ‘यसले सरकारको काम गर्ने पद्धतिमा भएको अपरिपक्वता झल्काउँछ ।’
आयोजनाको खर्चलाई लिएर विरोध भएपछि सन् २०१६ मा आन्तरिक स्रोतबाटै बनाउने भन्दै भारतीय कम्पनीसँगको सम्झौता रद्द गरियो । त्यति बेला आयोजनाको लागत १०० अर्ब रुपैयाँ पुगिसकेको थियो । लागत खर्च उच्च देखाएर भारतीय कम्पनीसँगको प्रस्ताव रद्द गरिएको थियो । तर, सेनाले बनाउँदा अहिले त्यसको लागत झन्डै आधाले बढिसकेको छ । एक दशकको अवधिमा यसको लागत अनुमान ५७ अर्बबाट ९६ अर्ब हुँदै पौने २ अर्ब रुपैयाँ पुगेको छ । समयमा सकिने र लागत कम लाग्ने भन्दै सेनालाई दिइएको यो आयोजनाले दुवै हिसाबले अपेक्षित परिणाम दिन सकेको छैन ।
अगाडिको बाटो
द हार्वर्ड बिजनेस रिभ्युमा सन् २००३ मा प्रकाशित ‘ह्वाई गुड प्रोजेक्ट्स फेल एनिवे’ लेखमा नदिम एफ मात्ता र रनल्ड एन एसकेनस जटिल आयोजनाहरूलाई फरक ढंगले डिजाइन गर्न सुझाउँछन् । जस्तो कि, समग्र योजनाभित्र लघु योजनाको शृंखला निर्माण गर्ने । यसो गर्दा कर्मचारीसहितको प्रत्येक समूह समग्र अपेक्षित नतिजाको एउटा संस्करणका लागि जिम्मेवार हुन्छ र हरेक लघुयोजनाले छिटो नतिजा दिन्छ । आयोजना व्यवस्थापनको परम्परागत शैलीमा पनि परिवर्तन ल्याउन जरुरी भइसकेको छ ।
यस्तै, ‘एन एम्पिरिकल एनालिसिस अफ द रिलेसनसिप
बिट्विन प्रोजेक्ट प्लानिङ एन्ड प्रोजेक्ट सक्सेस’ शीर्षक अनुसन्धानले आयोजना तथा परियोजना सफल हुनका लागि तीन कुरा महत्त्वपूर्ण रहेको देखाएको छ । ती हुन्— आवश्यकताको परिभाषा,
प्राविधिक पक्षको विशिष्टता एवं आयोजना व्यवस्थापन प्रक्रिया र कार्यविधि । अन्तिम प्रयोगकर्ता, आयोजना व्यवस्थापक र सम्झौता गर्ने कार्यालयप्रतिका तीन दृष्टिकोण पनि उत्तिकै महत्त्वपूर्ण
छन् । परियोजनाको लक्ष्य र यसको उपलब्धि हासिल गर्न केके
कुरा आवश्यक छन् भनेर पहिचान गर्ने सुरुको चरणलाई पनि हलुका रूपमा लिन नहुने यसको निष्कर्ष छ । त्यो प्रक्रियामा उपभोक्ता वा लक्षित वर्गको संलग्नताबिना यो काम पूरा हुन सक्दैन । यो कुरा नेपालका सन्दर्भमा पनि निकै महत्त्वपूर्ण छ । धेरैजसो विकास आयोजना स्थानीय तहबाट विरोध हुनु र समयमा सम्पन्न हुन नसक्नुको एउटा कारण त्यो पनि हो । तर, राजनीतिक दलहरूको स्वार्थअनुसार उपभोक्ताहरू परिचालित हुँदा पनि कतिपय
अवस्थामा कुरै नबुझी लहडमा विरोध गर्ने अवस्था छ । अव्यावहारिक माग राखेर आयोजना चल्न नदिने समस्या पनि छ । कतिपय
ठाउँमा क्षतिपूर्तिका नाममा बाँदर लड्ने भीरको क्षतिपूर्ति पनि करोडौं माग्ने गरेको पाइन्छ ।
क्षमताभन्दा बढी संख्यामा ठेक्का दिने प्रवृत्ति पनि अन्त्य हुनुपर्छ । राजनीतिक सम्बन्धकै आधारमा अनुभव नभएका कम्पनीहरूलाई उपठेक्का दिँदा तिनले समयमा काम नसक्ने र सके पनि गुणस्तर राम्रो नहुने समस्या छ । यही कारण राजधानीका थुप्रै सडकको बिजोग हुने गरेको छ । कम लागतमा कबोल गरेर ठेक्का हात पार्ने तर काम गर्न नसकेर आयोजनाको बिजोग पार्ने प्रवृत्ति ठेकेदारमा छ । अर्थमन्त्री शर्माले पनि हालै योजना आयोगको बैठकमा यसलार्ई स्वीकार गर्दै सुधार गर्नुपर्ने बताए ।
आयोजनाको ढिलासुस्तीमा नेता–कार्यकतासहित सिंगो राजनीतिक क्षेत्र, कर्मचारीतन्त्र र जनता स्वयम् पनि उत्तिकै जिम्मेवार छन् । त्यसैले नेपालमा साँच्चिकै पूर्वाधार विकास आयोजना समयमा सक्ने हो भने ‘सिस्टम’ बसाउनतिर ध्यान जानुपर्छ, जसले सरकार परिवर्तन भए पनि विकास–निर्माणका आयोजनाले निरन्तरता पाइरहने खालको वातावरण बनाउन सकोस् । कार्यकर्ता खुसी बनाउने नाममा वा आफूले मात्रै जस लिने वा अरूलाई जस लिन नदिने चक्करमा मुलुकको विकास–निर्माणलाई वर्षौंपछि धकेल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

 

Page 5
दृष्टिकोण

विकासको आधार पर्यटन

- जुद्धबहादुर गुरुङ


नेपाल प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । विश्वका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी र सीताको जन्मस्थल जनकपुरसहित
विभिन्न धार्मिक क्षेत्र खास गरी पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्रले सबैलाई आकर्षित तुल्याउने गर्छन् । प्राकृतिक र सांस्कृतिक क्षेत्रका सम्पदाहरूको अवलोकन तथा साहसिक खेलका लागि नेपाल प्रमुख गन्तव्य बनेको छ । यो सानो भूगोलभित्र लगभग १२५ जातजाति र १२३ भाषाभाषीका मानिस छन् । त्यसैले नेपाल सांस्कृतिक रूपमा पनि धनी मानिन्छ ।
नेपालमा पर्यटन उद्योगको सुरुआत हिमाल आरोहणपश्चात् भएको हो । विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमै पर्छन् । नेपालमा १९ औं शताब्दीदेखि हिमाल आरोहणको प्रयास जारी थियो । तर १९५० जुन ३ मा फ्रान्सेली दलले अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरी विश्वकीर्तिमान कायम गर्‍यो । यसपछि १९५३ मे २९ मा सगरमाथा (८८४८.२४ मिटर), १९५५ मे १५ मा मकालु (८४८५ मिटर) र मे २५ मा कञ्चनजंघा (८५८६ मिटर), १९५६ मे १८ मा लोहोत्से (८५१६ मिटर) र मे ९ मा मनास्लु (८१६३ मिटर) अनि १९६० मे १३ मा धौलागिरि (८१६७ मिटर) आरोहण गरिए । यसरी ’६० को दशकमा नेपालका अधिकांश प्रमुख हिमालहरूको आरोहण भयो । युरोपेली आरोहीहरूको यो सफलताले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
विश्वका आरोहीहरूका लागि आकर्षक गन्तव्य बन्दै गएपछि नेपालमा सन् १९५५ मा रसियाली नागरिक बोरिस लिसानेभिचले हालको निर्वाचन कार्यालय रहेको बहादुर
भवनमा रोयल होटेल नामले पहिलो पर्यटकीय होटेल स्थापना गरे । सन् १९६४ मा बेलायती नागरिक जिमी रोबर्ट्सले
चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स खोले, नेपालकै पहिलो जंगल रिसोर्ट । यसपछि विश्वबजारमा पर्यटकहरूको खोजी भयो । यसैको सिको गर्दै छ दशकयता नेपालमा १३८ वटा तारे होटेल र ११५१ वटा पर्यटकस्तरीय होटेल खुलिसकेका छन् । यसरी नेपालमा कुल १२८९ होटेलमा ४४ हजार बेड उपलब्ध छन् । यस्तै विभिन्न स्थानमा अनगिन्ती रिसोर्ट र सामान्य होटेलहरू सञ्चालन भइरहेका छन् । छ दशकयता नेपालको आतिथ्य क्षेत्रमा सयौं गुणा वृद्धि भएको छ । सन् २०२१ मा प्रकाशित विश्व श्रम संगठनको अध्ययन प्रतिवेदनअनुसार, नेपालको पर्यटन क्षेत्रले लगभग ८.१ प्रतिशत रोजगारी सृजना गरेको छ, जुन दक्षिण एसियाका अन्य श्रम बजारको भन्दा निकै बढी हो ।
पर्यटकलाई भ्रमण अविस्मरणीय बनाउन न्यूनतम आवश्यक सहयोगदेखि दक्ष साधन र स्रोतसम्मको आवश्यकता पर्छ । यसका लागि नेपालमा पहिलो पटक सन् १९६० मा उनै बेलायती नागरिक जिमी रोबटर््सले नेपाल माउन्टेन ट्राभल कम्पनी स्थापना गरी ट्राभल र ट्रेकिङ सेवाको सुरुआत गरेका थिए । थोमस कुक कम्पनीको सहयोगमा उनले पहिलो पटक ६० जना युरोपेली पर्यटक भित्र्याएर आफ्नो व्यवसाय सुरु गरेका थिए । हाल नेपालमा ट्राभल र ट्रेकिङ कम्पनीको संख्या ६,४४४ छ ।
हवाई यातायात पर्यटन विकासको महत्त्वपूर्ण आधार हो । नेपालमा सन् १९५५ मा हिमालयन नामक पहिलो हवाई कम्पनी प्रारम्भ गरिए पनि पछि सरकारले १९५८ मा शाही नेपाल वायु सेवा निगम कम्पनी स्थापना गर्‍यो, जसले बाह्य पर्यटक भित्र्याउन महत्त्वपूर्ण योगदान पुर्‍यायो । हाल आन्तरिक हवाई सेवातर्फ १९ वटा हवाई कम्पनीले सेवा दिँदै आएका छन् । यो क्षेत्रमा निजी क्षेत्रको ८५ प्रतिशत लगानी छ । अहिले ३ वटा नेपाली र २९ वटा विदेशीसहित ३२ हवाई कम्पनीले सेवा पुर्‍याउँदै आएका छन् ।
कुनै पनि विकासका लागि कानुनी तथा संस्थागत संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । यसै क्रममा सन् १९५५ मा पर्यटन विकास परिषद् गठन भयो । १९५९ मा पर्यटन विभाग स्थापना भयो र कतिपय जिल्लाहरूमा पर्यटन कार्यालय राखिए । १९६९ मा पर्यटन विकास समिति गठन भयो भने १९७८ मा पर्यटन मन्त्रालय नै अस्तित्वमा आयो । १९९७ मा नेपाल पर्यटन बोर्ड गठन भयो, जसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । देश संघीयतामा प्रवेश गरेपछि सन् २०१८ देखि प्रदेशस्तरीय पर्यटन मन्त्रालयहरूसमेत गठन भएका छन् ।
नेपालमा सन् १९५० मा १५३ जना बेलायती पर्वतारोहीहरू पर्यटकका रूपमा भित्रिए, तर १९६२ देखि मात्रै सरकारले विधिवत् रूपमा तथ्यांक राख्न सुरु गर्‍यो । त्यो वर्ष ६,१६९ जना पर्यटक भित्रिए भने २०१९ मा ११,९७,१९१ जनाभन्दा बढी । विगतमा भारतीय, अमेरिकी, युरोपेली खास गरी बेलायती मूलका पर्यटक भित्रिने गरे पनि हाल १८० भन्दा बढी मुलुकका नागरिकहरू आउने गर्छन् ।
पर्यटन उद्योग फस्टाउन मानव जनशक्तिको महत्त्वपूर्ण भूमिका हुने गर्छ । सरकारी तथा निजी क्षेत्रका महाविद्यालय र तालिम केन्द्रहरूले पर्यटन क्षेत्रको जनशक्ति निरन्तर रूपमा उत्पादन गरिरहेका छन् । हाल पथप्रदर्शक (ट्रेकिङ गाइड), सहरी पथप्रदर्शक (सिटी टुरिस्ट गाइड), पर्वतारोहण पथप्रदर्शक गरी लगभग २२ हजार दक्ष जनशक्ति यस क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न छ । होटेल तथा रेस्टुरेन्टहरूको जनशक्ति उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ ।
सन् २०१९ मा प्रकाशित तथ्यांकअनुसार, नेपाल भित्रिने पर्यटकहरूमा सबभन्दा बढी (लगभग ६५ प्रतिशत) मनोरञ्जन तथा बिदा मनाउने सोचका हुन्छन् । लगभग १७ प्रतिशत पर्यटक साहसिक (पदयात्रा र पर्वतारोहण), १४ प्रतिशत धार्मिक र बाँकी अन्य उद्देश्यका लागि आउने गर्छन् । नेपालमा ट्रेकिङ, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, प्याराग्लाइडिङ,
अल्ट्राफ्लाइट, साइकिलिङ, बन्जी जम्पिङ, जिप फ्लायर, कायाकिङ, क्यानोइङजस्ता साहसिकका साथै सामान्य किसिमका दृश्य तथा चरा अवलोकन, विभिन्न सांस्कृतिक तथा धार्मिक महोत्सवमा सहभागी हुनेसहित ३२ भन्दा बढी प्रकारका पर्यटनसम्बद्ध गतिविधि गरिँदै आएका छन् ।
सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । सन् १९९८ मा नेपाल भ्रमण वर्ष तय गरी ५ लाख, सन् २०११ मा नेपाल पर्यटन वर्ष भनी १० लाख पर्यटक भित्र्याउने योजना ल्याइयो । सन् २०२० लाई फेरि नेपाल भ्रमण वर्ष भनी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण त्यो अभियान स्थगित भयो । पोखरा (गण्डकी) र लुम्बिनीका पर्यटन व्यवसायीहरूले स्थानीय स्तरमा समेत पर्यटन प्रवर्द्धन अभियानहरू सञ्चालन गर्ने गर्छन् ।
देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान हुन्छ । नेपालमा प्रत्येक विदेशी पर्यटकले सरदर दैनिक ४८ अमेरिकी डलर खर्च गर्ने पर्यटन विभागको तथ्यांक छ । पर्यटकको सरदर बसाइ अवधि १२.७ दिन छ । सन् २०१९ मा प्रकाशित विश्व पर्यटन संगठनको प्रतिवेदनअनुसार, यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको लगभग ७.९ प्रतिशत योगदान गरेको छ । तर हाल कोभिड–१९ का कारण पर्यटन क्षेत्र अत्यधिक प्रभावित भएकाले सन् २०२० को पर्यटक संख्या सन् १९८६ को हाराहारी पुगेको छ ।
अहिले अधिकांश विश्व–नागरिकले कोभिड–१९ को खोप लगाइसकेका छन् । अन्यत्र स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन क्षेत्रलाई पनि सहज तुल्याउन थालिएको छ । यो पंक्तिकार केही दिनपहिले फ्रान्सको एउटा प्रमुख व्यापारिक सहर मार्सेमा थियो । त्यहाँको पर्यटन बजार सामान्य अवस्थामा फर्केको अनुभूति भयो । पार्क, होटेल, रेस्टुरेन्ट तथा रात्रि जीवनशैलीमा कुनै भिन्नता पाइएन । विशाल बजार, होटेल तथा रेस्टुरेन्टहरूमा स्वास्थ्य प्रमाणपत्र पेस गरेपछि प्रवेश खुला रहेछ । हाल उडानको संख्या कम भए पनि लगभग ३०० जना एकै पटक बोक्ने ठूला विमानहरू यात्रुहरूले खचाखच भरिएका देखिए । नेपालमा पनि स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान गराउनु अति जरुरी भइसकेको छ ।
अन्त्यमा, पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ । विभिन्न कालखण्डमा विविध समस्याको सामना गर्दै आएको नेपालको पर्यटन उद्योगले यस पटक पनि कोभिड–१९ को प्रभाव सामना गर्नुपरेको छ र यो कठिनाइबाट पनि चाँडै पार पाउने अपेक्षा छ ।
गुरुङ संरक्षणविद् हुन् ।

दृष्टिकोण

फलफूल र तरकारी पनि जरुरी

- साजमा नेपाली

 

हरेक मानिसको आफूलाई मन पर्ने फलफूल तथा तरकारी हुन्छ, सो खान पाएमा खुसी हुने गर्छन् । फलफूल तथा तरकारीलाई तिनको आकार र रङले आकर्षक बनाउँछ । त्यस्तै तरकारीको हकमा पकाउने शैली र मसलाको प्रयोगले स्वादिलो बनाउँछ । स्वाद र आकर्षणभन्दा सबल पक्ष हो— यिनमा पाइने पोष्टिक तत्त्व । विभिन्न प्रकारका भिटामिन, खनिज पदार्थ, रेसा इत्यादि यहीबाट पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

स्वास्थ्यमा लाभ
हरियो सागपात तथा तरकारीको सेवनले आँखालाई स्वस्थ्य राख्न मदत गर्छ भन्ने जानकारी नभएको मानिस बिरलै होलान् । बालबालिकादेखि वृद्धवृद्धा सबैलाई यसबारे थाहा छ । यस्ता ज्ञान स्वस्थ शरीरका लागि आवश्यक पर्छ । फलफूल तथा तरकारी सेवनले मोटोपन घटाउन, उच्च रक्तचाप कम गर्न र कोलेस्ट्रोलको मात्रा घटाउन मदत गर्छ । मुटु तथा अन्य दीर्घकालीन रोगहरूको रोगथामका लागि हरेक दिन कम्तीमा ४०० ग्राम फलफूल तथा तरकारी खानुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । तर सबै मानिसले यसरी खाने गरेको पाइँदैन । यसो हुनुका कारण फलफूल तथा तरकारी महँगो हुने, तरकारी थोरै खाने चलन वा बिरामी पर्दा मात्र फलफूल खानेजस्ता सोच हुन सक्छ । हरेक दिन तरकारी तथा फलफूल सेवन गरे मुटुजन्य रोगहरूबाट बच्न मदत गर्छ । फलफूल तथा तरकारीमा चिल्लो पदार्थ एकदम न्यून मात्रामा पाइन्छ । विभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थहरू भने प्रचुर मात्रामा हुन्छ । यसको उपभोगले न्यून तथा उच्च दुवै प्रकारका कुपोषणका समस्या कम गर्छ । यी तथ्यांक र जानकारीहरूलाई मध्यनजर राख्दै, समुदायमा फलफूल तथा तरकारी सेवनमा जोड लगाउनुपर्छ ।
फलफूल तथा तरकारीको फाइदाबारे जनचेतना फैलाउन संयुक्त राष्ट्र संघले सन् २०२१ लाई फलफूल तथा तरकारी अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरेको छ । सन्तुलित भोजनका लागि यो अभियान आवश्यक ठानिएको हो । फलफूल तथा तरकारी खानाले मानिसको शरीर स्वस्थ हुन्छ । पोषण तथा स्वास्थ्य अवस्थामा सुधार ल्याउनमा यसको योगदान रहेको विषय, ध्यानाकर्षण गराउनु सन् २०२१ फलफूल तथा तरकारी अन्तर्राष्ट्रिय वर्षको मुख्य ध्येय हो ।

महिलाको भूमिका
नेपाललगायत दक्षिण एसियाली तथा अफ्रिकी मुलुकहरूमा फलफूल तथा तरकारी खेतीपातीदेखि पकाउने, पस्किने काममा महिला मुख्य भूमिकामा देखिन्छन् । तर खानपिन तथा पहुँचमा भने महिला र बालबालिका निकै पछाडि छन् । जसले गर्दा उनीहरूमा कुपोषण देखा पर्ने गरेको छ । खानपिन समयमा नहुनु, घरका पुरुष सदस्यले उनीहरूको खानपिनमा हेरचाह नगर्नु, महिलालाई समान व्यवहार नहुनुजस्ता कारण यसो भएको हो । त्यसैले स्वयम् महिला अनि परिवारका पुरुष सदस्यले पनि यो बुझ्नु जरुरी छ । बुझाइको सँगसँगै उनीहरूको साथ, सहयोग र हौसला पनि आवश्यक छ ।

मौसमी प्रभाव
मौसमी फलफूल तथा तरकारीहरूमा विषादीको प्रयोग हुँदैन वा कम मात्रामा मात्र हुने गर्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक छ । मौसमी फलफूल तथा तरकारी मीठो पनि हुने गर्छ । फलफूल तथा काँचै खान सकिने तरकारीहरूलाई भने राम्ररी पानीले पखालेर मात्र खाने गर्नुपर्छ । त्यस्तै अन्य अन्नको दाँजोमा फलफूल तथा तरकारी छिटै कुहिने भएकाले यसलाई छिटै खानु वा सुरक्षित भण्डारण गर्नुपर्छ । बेलैमा विचार नपुर्‍याए कतिपय फलफूल तथा तरकारीहरू कुहिएर फालिने अवस्थामा पुग्छन् ।

नचिनिएका फलफूल तथा तरकारी
कतिपय खान सकिने फलफूल तथा तरकारीहरूलाई खानपानमा प्रयोग गरेको पाइँदैन । कुनै फलफूल तथा तरकारी यहाँ खाए पनि अन्य देशमा त्यसलाई नखाने चलन पनि हुन्छ । जमिनमा आफैं उम्रिने तर खाने चलन नभएको फलफूल तथा तरकारीमा राम्रो पोष्टिक तत्त्व पाइन सक्छ । उदाहरणका लागि लट्टे, सिस्नुको साग इत्यादि । यसरी पहिचान नभएका फलफूल तथा तरकारीमा पाइने पौष्टिक तत्त्वको अनुसन्धान तथा पहिचान आवश्यक छ ।

व्यावसायिक खेती
फलफूल तथा तरकारीको अर्को विशेषता यसको खेती हो । कतिपय अवस्थामा यसको खेती सहजै गर्न सकिन्छ । अझ तरकारीलाई त थोरै जमिनमा पनि उमार्न सकिन्छ । अन्य खाद्यजस्तै धेरै जमिन नचाहिने भएकाले प्रायः घर वरपर तरकारी लगाइने गरिएको छ । साना किसानहरूले पनि यसको खेती सहजै गर्न सक्छन् । आम्दानी पनि राम्रै हुने भएकाले किसानहरूलाई तरकारी खेतीमा प्रोत्साहन गर्नुपर्छ । यो जीविकोपार्जनको माध्यम बन्न सक्छ । किसानले आर्थिक अवस्था सुधार्न सक्छन् । दुःखलाग्दो पक्ष त, नेपाल कृषिप्रधान देश हुँदाहुँदै पनि फलफूल तथा तरकारीहरूको खेतीमा आत्मनिर्भर बन्न सकेको छैन । वर्षौं अर्बौं रकम बराबरको फलफूल तथा तरकारीहरू नेपाल भित्रिने गर्छ । त्यसैकारण, साना किसानलाई प्राथमिकतामा राख्नुपर्छ र व्यावसायिक खेतीका लागि चाहिने पूर्वाधारमा जोड दिनुपर्छ ।

दृष्टिकोण

नीति छैन, नेतृत्वमा होडबाजी

- साधना प्रतीक्षा

 


देश र जनताको उन्नति, प्रगति एवम् सुनिश्चित भविष्यका लागि आवश्यक नीति अवलम्बन गरी तदनुरूप कार्य गर्ने पद्धति राजनीति हो । तर हामीकहाँ राजनीतिले यसो गर्न सकेको देखिँदैन । यहाँको राजनीति नीतिमुखी नभएर नेतृत्वमुखी बन्दै गइरहेको देखिन्छ । हरेक राजनीतिक दलको अभीष्ट जसरी हुन्छ सत्तामा जानु तथा तिनका नेता–कार्यकर्ताको अभीष्ट नेतृत्व प्राप्त गर्नु नै रहेको देखिएको छ । विगतमा भएको नेकपा एमालेभित्रको विवाद तथा त्यसबाट सृजित दल विभाजन र अहिलेको नेपाली कांग्रेसको महाधिवेशनका परिदृश्यले यही तथ्यलाई उजागर गरिरहेका छन् ।
कांग्रेसको आसन्न महाधिवेशनलाई हेर्ने हो भने त्यहाँभित्रको आन्तरिक द्वन्द्व तथा घम्साघम्सी दलले अवलम्बन गर्ने नीति अनि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा तय गरिने निश्चित दृष्टिकोणका लागि नभएर केवल नेतृत्व प्राप्तिका लागि भएको देखिन्छ । त्यसैले दलभित्र भएको विवाद पनि समाप्त हुनु सट्टा झन् बढ्दै गएको छ । हालको नेतृत्वले सो विवाद समाधान गर्नेतिरभन्दा कसरी पुनः नेतृत्व प्राप्त गर्ने भन्ने सोच राख्नाले नै नेता तथा आम कार्यकर्ताहरू सोही नेतामुखी प्रवृत्तिलाई आत्मसात् गर्दै मैदानमा उत्रेका देखिन्छन् । महाधिवेशनको परिदृश्यमा कहीँकतै दलको नीतिका बारेमा छलफल भएको पाइँदैन । मुलुकको विद्यमान असहज परिस्थिति, आम जनताले भोगिरहेका कठिनाइसाथै अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू छन् तर पनि त्यसबारेमा कतै प्रसंग उठाइएको देखिँदैन । जसरी हुन्छ पदीय जिम्मेवारी प्राप्तिकै लागि नेता–कार्यकर्ता आपसमा लडिरहेका छन् । नीतिले निर्दिष्ट नगरेको राजनीतिक आचरणका कारण दलभित्र चरम गुटबन्दी सृजना भएको छ । त्यागी, इमानदार तथा संगठनका लागि नै जीवन दाउमा लगाएका नेता–कार्यकर्ता पाखा लाग्नुपर्ने बाध्यता पनि बढ्दो छ भने नेतृत्व तहका नेताहरूको निहित स्वार्थको वरिपरि परिक्रमा गर्नेहरू हरेक जिम्मेवारीका लागि योग्य ठानिने प्रवृत्ति पनि दलभित्र हावी भइरहेको छ । महामारीको
यस्तो असहज परिस्थितिमा हुन लागेको महाधिवेशन पनि नीतिभन्दा नेतृत्वमा केन्द्रित हुनु मुलुकको समग्र राजनीतिका लागि समेत शुभसंकेत होइन ।
कांग्रेस त एउटा उदाहरण हो । हामीकहाँ हरेक राजनीतिक दलभित्र राजनीतिको नीति हराउँदै गएको छ र नेतृत्वमुखी प्रवृत्ति बढिरहेको छ । त्यसैले दल फुट्ने र जुट्ने प्रक्रिया पनि सामान्यजस्तै बनेको देखिन्छ । सत्ताको दम्भ र नेतृत्वले आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिले हरेक दलभित्र विवाद चुलिएको देखिन्छ । नेपालका वामपन्थी दल तथा तिनका नेता–कार्यकर्ताले अहिले यसैको दुष्परिणाम झेलिरहेका छन् । उनीहरू आफ्नो
नीति सिद्धान्त सबैबाट विमुख भएर नाम मात्रका वामपन्थी बन्नुको कारण पनि यही हो । यी दलहरू जुन सिद्धान्तबाट प्रेरित भएर नेपाली राजनीतिमा उदाएका थिए अनि पटकपटकका ऐतिहासिक परिवर्तनमा सहभागी भएका थिए त्यही सिद्धान्तलाई उनीहरूले आफ्नो दलीय नीति बनाउन सकेनन् । दलभित्र नीतिका लागिभन्दा पनि नेतृत्वकै लागि हानथाप देखियो । सत्तामा पुग्ने होडबाजीका कारण यी दलहरूले आफ्नो पहिचान नै गुमाउदै गएका छन् ।
अहिले आम जनतामा राजनीतिप्रति वितृष्णा देखिनुको कारण दलहरूले नीतिलाई भन्दा नेतृत्वलाई बढी महत्त्व दिनु नै हो । निर्दलीय निरंकुशताबाट देश र जनताको उन्नति हुन नसकेको ठहर गरी पटकपटक त्यसविरुद्ध आन्दोलन गरेर, हजारौं जनताको बलिदानबाट स्थापित बहुदलीय प्रजातन्त्रप्रति आज जुन प्रकारको वितृष्णा देखिएको छ त्यसका पछाडि राजनीतिक दलहरूको अदूरदर्शिता नै कारण बनेको छ । ‘खोलो तर्‍यो लौरो बिर्स्यो’ भनेजस्तै दलहरूले हरेक परिवर्तनपछि जनआस्था र जनचाहनाको सम्मान गर्न सकेको देखिएन । दलहरू केवल दलीय स्वार्थमा लाग्नु अनि तिनका नेता कार्यकर्ता केवल नेतृत्वको होडबाजीमा लाग्नुले आम जनताले परिवर्तित राजनीतिक अवस्थामा पनि सुखानुभूति गर्न सकेका छैनन् । यति मात्र होइन, कुनै पनि दलले देश र जनताको हितका लागि निश्चित नीति तय गर्न सकेको पनि देखिएन । यसका साथै नेता तथा कार्यकर्तामा पनि नैतिकता र इमानदारी स्खलित हुँदै गएको छ । फलस्वरूप राजनीतिक वृत्तमा भ्रष्टाचार तथा विकृतिहरू बढ्दै गएका छन् । राजनीति कमाइ गर्ने खेलो तथा नाफामुखी व्यवसाय नै बन्दै गएको देखिन्छ ।
यसै सन्दर्भमा सम्झना भइरहेछ, उच्चशिक्षा पूरा गरेका एक छात्रलाई भविष्यको योजना के छ भनेर सोध्दा उनको जवाफ यस्तो थियो, ‘अब चलेको व्यापार नै गर्ने विचारमा छु । जागिर खोजूँ धेरै मिहिनेत गर्नुपर्छ । फेरि त्यसको पनि इमानदारीको कमाइले साँझबिहानको छाक टार्ने मात्र त हो नि’ अन्य व्यापार व्यवसायमा घाटाको जोखिम पनि हुन्छ तर यो व्यापारमा लगानी गर्न सक्यो भने नाफैनाफा... ।’ उनको आशय राजनीतिमा लाग्ने थियो । त्यसैले हौसिँदै भनेका थिए, ‘सुरुमा स्थानीय तहमै लगानी गरेर टिकट लिन्छु, चुनाव जित्छु अनि कमाउन सुरु गर्छु र त्यही लगानी माथिल्लो तहमा पनि लगाउँदै जान्छु ।’ लगानी गर्न सके राजनीतिमा अवसरै अवसर छ भन्ने ती युवाको मुस्कानमा मैले वर्तमानको विसंगत राजनीतिक परिवेशको स्पष्ट छवि देखेकी थिएँ ।
अहिले हाम्रो राजनीति दुई प्रकारले विसंगत बनिरहेको छ । पहिलो, यो व्यापार बन्दै छ । दलहरूभित्र इमानदारी र त्यागको होइन आर्थिक प्रभाव हावी भएको देखिन्छ । दलभित्रकै नेतृत्व चयन होस् चाहे आम निर्वाचन प्रक्रिया होस्, त्यो अत्यन्त खर्चिलो र भड्किलो बन्दै गएको छ । सामान्य आर्थिक अवस्था भएको व्यक्ति योग्य भए पनि ऊ कुनै पदको उमेदवार हुन सक्ने अवस्था न्यून बन्दै गइरहेको देखिन्छ । चुनाव जित्नका लागि करोडौं खर्च गर्नुपर्ने अवस्थामा प्रश्न उठाउन सकिन्छ, त्यसको क्षतिपूर्ति कसरी गरिन्छ ? जवाफ प्रस्ट छ राजनीतिक भ्रष्टाचार । त्यसैसँग जोडिएर आउने कमिसनतन्त्र र कालोबजारी । हरेक नेताले जतिसक्दो कार्यकर्ता पालेर आफूलाई लोकप्रिय देखाउने वर्तमान राजनैतिक परिवेशमा भ्रष्टाचार र कमिसन नै उसको आम्दानीको स्रोत बन्ने गरेको सर्वविदितै छ । यदि दलहरूले यस्तो भड्किलो नेतृत्व चयनलाई निरुत्साही गर्ने हो र राजनीतिलाई व्यापार नभई जनसेवा बनाउने हो भने दलभित्र अस्वस्थ प्रतिस्पर्धा पनि हुने थिएन ।
राजनीतिक विसंगतिको दोस्रो कारण दलहरूभित्र नेतृत्वको निश्चित अवधि नतोकिनु पनि हो । एउटै व्यक्ति अनवरत रूपमा नेतृत्वमा रहनुले आम कार्यकर्तामा नैराश्य उत्पन्न हुनाका साथै नेताहरूबीच नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । विकसित मुलुकहरूमा जस्तै हामीकहाँ पनि नेतृत्वका लागि निश्चित समयावधि तोकिने हो भने क्रमशः नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण स्वतः हुन जान्थ्यो । हामीकहाँ त हरेक दलभित्र उही अनुहार सदावहार नेतृत्वमा रहेको देखिन्छ । यसप्रकारको नेतृत्वका लागि उसले दलभित्र साम, दाम, दण्ड, भेदको नीतिसमेत लिएको पाइन्छ । एउटै व्यक्ति जति पटक पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदि पदमा आसीन हुन पाउने भएकाले पनि हाम्रो राजनीतिमा नयाँ सोचको विकास हुन सकेको छैन, बरु यसले त भ्रष्टाचार र अन्य विसंगतिहरूलाई प्रोत्साहित गरिरहेको छ । सत्तासीन हुँदा मात्र होइन, भूतपूर्व भएपछि पनि अनेक सेवासुविधा पाउने नियमका कारण पनि देश निरन्तर खोक्रिँदै गइरहेको देखिन्छ ।
दलीय राजनीतिमा देखिएको यसप्रकारको नीतिविहीनता तथा विकृति विसंगतिका कारण अहिले आम जनमानसमा यसप्रति घोर नैराश्य बढेको देखिन्छ । जनतामा छाएको दलीय राजनीतिप्रतिको वितृष्णाले नयाँ विकल्पको खोजी गरिरहेको छ । यस्तो खोजी पुनः राजनीतिक परिवर्तनको संकेत पनि हुन सक्छ तर जतिसुकै परिवर्तन भए पनि, जनताले जति नै बलिदान दिए पनि जबसम्म राजनीति नीतिबाट निर्देर्शित हुँदैन र यो केवल नेतृत्वमुखी भइरहन्छ तबसम्म जनचाहना पूरा हुन सक्दैन । यसबाट न राजनीतिक स्थिरता हुन सक्छ न त राष्ट्रको दिगो विकास नै हुन सक्छ । त्यसैले अब राजनीतिक दलहरूमा नीतिचेतनाको विकास आवश्यक भएको छ ।

Page 6
समाचार

‘चाडबाडमा लापरबाही नगरौं’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - मुलुकमा कोभिड–१९ को दोस्रो लहर मत्थर देखिएको बेला दसैंको रमझम छ । चाडपर्वको उल्लासबीच स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा मानिस केही लापरबाह देखिएका छन् । कोभिडको पूर्ण मात्रा खोप लगाएकाहरू त त्यसमा झन् अगाडि छन् ।
विशेषज्ञहरूले कोभिडको जोखिम कायमै रहेकाले खोप लगाएका वा नलगाएका सबैले चाडपर्वमा बढी सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले पनि संक्रमणबाट जोगिनका लागि मापदण्ड पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले पूर्ण मात्रा खोप लगाएकाहरूमा समेत जटिल कोभिड संक्रमण देखिएकाले सबैले स्वास्थ्य मापदण्ड अपनाउनु अत्यावश्यक रहेको बताए । उनले चाडपर्वमा पनि मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न र हातको सफाइमा सावधानी अपाउन आग्रह गरे ।
सरकारी तथ्यांकमा नेपालमा कोभिड संक्रमण घट्ने क्रम देखिए पनि कोरोनाको नयाँ भेरिएन्ट आउने जोखिम कायमै देखिन्छ । कोभिडको दोस्रो लहरको सुरुवातपछिकै सबैभन्दा कम गत आइतबार दैनिक संक्रमण दर अर्थात् ५ प्रतिशत थियो । केही दिनयता दिनहुँ सरदर १०–१२ जना जतिको मृत्यु कोभिडले भइरहेको छ । हाल देशभरिमा १४ हजार ७ सय ४७ सक्रिय संक्रमित छन् । ‘हाल चाडपर्वको मौसममा भीडभाड हुने भएकाले कोभिडबाट जोगिन खोप लगाएका वा नलगाएका सबैले स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘कोभिडले दिनहुँ मृत्यु भइरहेको छ र नयाँ संक्रमित थपिने क्रममा कमी आए पनि रोकिएको छैन ।’
डा. पौडेलले हाल परीक्षण गरिएकामा संक्रमण दर करिब ७–८ प्रतिशत देखिने गरेको बताए । उनका अनुसार दिनहुँ करिब १० देखि १४ हजारको परीक्षण भइरहेको छ । मुलुकको प्रवेश बिन्दुमा परीक्षण गर्दा हाल हाल २–३ प्रतिशतमा पोजिटिभ देखिएको छ । ‘पूर्ण मात्रा खोप लगाएकाहरूमा पनि कोभिडको संक्रमण भई नै रहेको छ,’ डा. पौडेलले भने, ‘त्यसैले खोप लगाएकाहरूले पनि मास्क, दूरी, हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड कडाइ साथ पालना गर्नुपर्छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सीमा आउने कोभिड बिरामीमध्ये ३० देखि ४० प्रतिशतसम्म खोप लगाएका हुने गरेका छन् । इमर्जेन्सीमा आएका खोप लगाएका कुल बिरामीमध्ये करिब ३० देखि ४० प्रतिशत अस्पतालमा भर्नासमेत हुने गरेको टेकु अस्पतालका निर्देशक डा. बाँस्तोलाले बताए । उनका अनुसार एक वा पूर्ण मात्रा खोप लगाएर अस्पताल भर्ना हुनेहरूमा धेरैजसो पाका उमेरका छन् । हाल मुलुकमा १८ वर्षमाथिका करिब ३८ प्रतिशतले कोभिडविरुद्घको खोपको पहिलो मात्रा र ३० प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दसैं–तिहारमा बढी जोखिम रहेकाले घर आएका परिवारको सदस्यलाई कोभिड परीक्षण गर्ने व्यवस्था मिलाउन जरुरी रहेको बताए । ‘यस्ता व्यक्तिलाई कम्तीमा एन्टिजेन परीक्षण गराउनुपर्छ,’ उनले भने, ‘कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाहरूले पनि परीक्षण गराउनुपर्छ ।’ एन्टिजेन परीक्षणको रिपोर्ट छिटो आउने भएकाले संक्रमणबारे जान्न यो महत्त्वपूर्ण हुने उनले बताए । डा. बाँस्तोलाले बूढापाकामा कोभिड संक्रमणको बढी जोखिममा हुने भएकाले दसैंमा उनीहरूबाट टीका थाप्दा थप स्वास्थ्य सावधानी अपनाउनुपर्ने बताए । ‘धेरैजसो टीका थाप्ने वृद्घवृद्घाबाट हो, उनीहरूले खोप लगाए पनि प्रतिरोधी क्षमता नबनेको हुन सक्छ,’ उनले भने, ‘टीका थाप्न गएका युवाले बूढापाकालाई संक्रमण सार्ने उच्च जोखिम रहेकाले मास्क, हातको सरसफाइ र सकेसम्म सामाजिक दूरी कायम राख्दै टीका थाप्नु सर्वोत्तम हुन्छ ।’ यात्रामा मास्क लगाउँदै सवारीसाधनको झ्याल खुला राख्न विज्ञको सुझाव छ ।
संक्रमण दर ओरालो लागे पनि सात जिल्लामा पाँच सयभन्दा बढी र १९ वटा जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रूपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । झापा, धनुषा, सप्तरी, सिरहा, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बागलुङ, स्याङ्जा, तनहुँ, दाङ, बाँके, सुर्खेत र कैलालीमा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

समाचार

परदेशी फर्केपछि गाउँ धपक्कै

- कान्तिपुर संवाददाता

(लमजुङ) - जागिरको सिलसिलामा टाढा रहेकाहरू गाउँघर फर्केर आएपछि लमजुङका गाउँहरूमा दसैंको रौनक छ । भारतीय सेनाका कार्यरत क्व्होलासोंथर गाउँपालिका–४ भुजुङ कमागाउँका विशाल गुरुङ दुई साताअघि भारतको कश्मीरमा थिए ।
दसैं मान्नकै लागि यसपटक बिदा मिलाएर उनी घर आएका छन् । ‘गाउँ आएर साथीसंगीसँग रमाइलो गरिएको छ । पिङ राख्ने, नाचगान गर्ने, भोजभतेरमा सहभागी भएको छु,’ उनले भने, ‘वर्ष दिनमा एकपल्ट आउने चाडमा गाउँ आउनै पर्‍यो । अर्को साल के हुन्छ थाहा छैन ।’ उनका अनुसार गाउँमा रोटे पिङ, लिंगे पिङ थापिएको छ । गाउँघर र बाटोघाटो सरसफाइ गरिएको छ । कमेरोले लिपपोत गरिएको छ ।
दोर्दी गाउँपालिका ६, ताँजे घर भई भारतीय सेनामा कार्यरत सुजन घले दसैंमा गाउँघर नै रमाइलो हुने गरेको बताउँछन् । उनी मंगलबारमात्रै गाउँ आएका छन् । सोमबार बेंसीसहरमा आफ्ना क्याम्पसका साथीसंगी भेटेर सुखदुःख साटासाट गरेको उनले बताए । ‘दसैंमा परदेशभन्दा गाउँ नै रमाइलो हुन्छ । सकेसम्म पल्टनबाट सबै गाउँ आउन खोज्छन् । धेरैको बिदा मिल्दैन । हामीलाई भने मिल्यो । दसैंमा गाउँ आउन पाएकामा निकै खुसी छु,’ उनले भने ।
माइलो छोरा धनबहादुर तामाङ अबुधाबीबाट दसैं मनाउन गाउँ फर्केपछि दोर्दी गाउँपालिका–८, हिलेका उदबहादुर तामाङ निकै खुसी छन् । नेपाली सेनामा कार्यरत जेठो छोरा करण तामाङ पनि भाइसँगै दसैं मनाउन गाउँ आएको उनले बताए । ‘छोरो ३ वर्षपछि दसैं मनाउन गाउँ फर्किंदा निकै खुसी लागेको छ । अब सबै परिवार मिले दसैं मनाइन्छ,’ उनले भने, ‘परदेश भएका छोराहरू गाउँ फर्किए मात्रै चाडबाड आएजस्तो हुँदो रहेछ ।’
अबुधाबीबाटै शिवजंग गुरुङ दसैं मनाउन क्व्होलासोंथर गाउँपालिका–३ खोगुम आइपुगेका छन् । ‘लामो समयपछि आफ्ना परिवार, आफन्त, इष्टमित्र, छरछिमेकसँग भेट्न पाउँदा, भलाकुसारी गर्न पाउँदा निकै खुसी छु,’ उनले भने । क्व्होलासोंथर गाउँपालिका–७ कुमलुमका चन्द्र गुरुङ बहराइनबाट दसैं मनाउन गाउँ आएका छन् । ‘दसैंमा गाउँघर निकै रमाइलो हुन्छ । धान झुलेको बेला, मौसम खुलेको बेला गाउँघरको मुहार नै धपक्कै बलेको हुन्छ । त्यसैले दसैं मनाउन गाउँ फर्किन मन लाग्यो,’ उनले भने । लमजुङ समाज यूएईका अध्यक्ष बाबुराम सापकोटा दसैं मनाउन गाउँ फर्केका छन् । यूएईमा रहेर आफ्नो ‘ड्युटी’ पनि पूरा गर्ने र दुःख, आपत्मा परेका लमजुङेको परोपकारी कार्यमा संलग्न उनी यसपटक दसैं मनाउन गाउँ आएका हुन् । ‘चाडबाडका बेला परदेशभन्दा गाउँ रमाइलो हुन्छ । जन्मिएको, हुर्किएको, खेलेको ठाउँ कर्मभूमिभन्दा निकै प्यारो लाग्छ,’ उनले भने । उनका अनुसार दसैंमा धरै परदेशी गाउँ आउन खोज्छन् । तर, सबैको बिदा मिल्दैन । ‘गाउँ आउन नपाउनेहरू गाउँ सम्झेर रुन्छन् । परदेश भनेको यस्तै हो । अर्को साल आउने भनी चित्त बुझाउँछन्,’ उनले भने ।
मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दसैंको समय धेरै परदेशी गाउँ फर्केको बताए । ‘परदेशी गाउँ फर्किएपछि गाउँमा छुट्टै रमाइलो हुन्छ,’ उनले भने । उनका दसैं मनाउन पोखरा, काठमाडौं, चितवन रहेका वा बेंसीसहर नै बस्दै आएका कतिपय गाउँ फर्केका छन् । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वैदेशिक रोजगारमा रहेका, सैनिकमा सेवारत नागरिक दसैंतिहार मनाउन आफ्नो गाउँघर फर्केको बताए । ‘विदेशबाट दसैंतिहार मनाउन कति फर्किए
भन्ने तथ्यांक छैन । कोही हवाईमार्गबाट आएका छन् । भारतलगायत मुलुकुबाट स्थलमार्ग भएर आएका छन्,’
उनले भने ।

समाचार

नाकामा लर्को

- कान्तिपुर संवाददाता


कञ्चनपुर (कास)– पिठ्युँमा ठूलो भारी । हातमा सानोतिनो झोला । कतिपयका काखमा दूधे बालक पनि । सबैलाई गाडी चढ्ने हतारो । फूलपातीका दिन मंगलबार बिहान गड्डाचौकी नाकामा दसैंका लागि घर फर्किनेको भीड थामिनसक्नु थियो । यस्तै भीडमा भेटिए कैलाली टीकापुरका दीपक महतो । दुई महिनाअघि मात्रै भारतको सिमला गएका उनी दसैंका लागि घर फर्किएका हुन् । ‘सिमला पूरै खाली भइसक्यो, नेपाली कामदार घर फर्किसके,’ उनले भने, ‘दसैं–तिहारमा त उता उराठ नै लाग्छ, नआऊँ भने पनि मनले मान्दैन ।’
महतो हरेक वर्ष रोपाइँ सकेर सिमला पुग्छन् । एक महिनाजति स्याउ टिप्छन् । एक महिना घाँस काट्छन् । ‘अब अर्को वर्ष मात्रै जान्छु,’ महतोले भने, ‘दसैं–तिहार खर्च अहिलेको कमाइले पुगिहाल्छ, हिउँदमा त्यहाँ चिसो धेरै हुन्छ काम गर्नै गाह्रो हुन्छ ।’ असोज सुरुदेखि नै गड्डाचौकी नाकामा घर फर्किनेको भीड बढेको छ । दिनमा दुई हजारभन्दा बढी नेपाली यो नाकाबाट फर्किने गरेका हुन् । घटस्थापनादेखि भने भीड अझै बढेको छ । दिनमा तीन हजारभन्दा बढी यो नाकाबाट
फर्किन थालेका छन् ।

समाचार

कुलदेवतालाई ढिक्री र सिद्रा

- गणेश चौधरी

(टीकापुर) - दसैं नजिकिएसँगै थारू समुदायमा पनि यसको रौनक सुरु भएको छ । थारूहरूले भिन्न तरिकारले दसैं मनाउँछन् । पश्चिम तराईका थारूले दसैंमा कुल देवतालाई ढिक्री, सिद्रा, कुखुराको बलि दिने र पितृ पूजा गर्ने चलन छ ।
सप्तमीको दिन ढिक्री बनाउन प्रयोग हुने भाँडाकुँडा सरसफाइ गर्ने, गुरुवाको घरबाट धूप ल्याउने गर्छन् । अष्टमीको दिन थरीथरी ढिक्री बनाएर कुल देवतालाई चढाउने जानकी गाउँपालिका–३ का लालबहादुर चौधरीले बताए । ‘दसैंमा सकेसम्म नयाँ धानको ढिक्री पकाउने र देवतालाई चढाउने गर्छौं,’ उनले भने । नवमीका दिन बिहान पूजा कोठामा कुखुराको बलि दिएर पूजा गर्ने चलन छ । थरअनुसार ५, ७ या ९ वटासम्म कुखुरा चढाउने गरिन्छ । दसैंमा थारू समुदायलाई खसीबोका नभई लोकल कुखुरा नै चाहिन्छ । यसको जोहो पहिले नै गरिएको हुन्छ । दसैं पितृलाई सम्झने पर्वका रूपमा पनि थारूहरूले मनाउँदै आएका छन् । दसैंमा तीन, पाँच वा सात थरीका तरकारी पकाउने र पितृलाई चढाउने गरिन्छ । ‘दसैंमा खासगरी पितृलाई खुवाउन (श्राद्ध गर्न) सिद्रा र साग अनिवार्य हुन्छ । पितृका लागि सिद्रा, तोरीको साग, गेडागुडी पकाएर श्राद्ध गर्ने चलन छ,’ लालबहादुर चौधरीले भने । नवमीको दिउँसो पितृलाई चढाएका खानेकुरा राखिएका दुनाटपरी गाउँ नजिकैको नदी, खोलामा बगाइन्छ, जसलाई उनीहरू ‘पित्तर असरैना’ भन्छन् । नदी, खोलामा जाँदा गाउँका तन्नेरी नाच्दै, गाउँदै जाने र फर्कने गर्छन् ।
टीकाको दिन चामलको पीठोको टीका बनाएर लगाउने चलन थारूहरूको हो तर पछिल्लो समय अरू जातजातिको देखासिखीमा रातो टीका लगाउने चलन बढ्दै गएको छ । दसैंमा सेतो टीकाको ठाउँ रातोले लिँदै गएको टीकापुर–९ वनगाउँका दिलबहादुर चौधरीले बताए । उनले भने, ‘आफ्नो चालचलन बिर्सेर अरूको चलन भित्रिँदै गएकाले यसमा सचेतना अपनाउन आवश्यक छ ।’ थारू बस्तीमा दसैंमा सखिया नाच नभई नहुने अर्को परम्परा हो ।

Page 7
अर्थ वाणिज्य

५० अर्बका नयाँ नोट साटिए

- कान्तिपुर संवाददाता

(काठमाडौं) - यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । ‘सर्वसाधारणले ५ देखि सय रुपैयाँसम्मका गरी करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका गरी करिब ३७ अर्ब रुपैयाँका नोट साटेका छन्,’ उनले भने ।
यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो ५ देखि सय रुपैयाँसम्मको एक/एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्था र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो । गत सोमबारदेखि यो सेवा बन्द भएको छ । तिहार र छठ पर्वका लागि भने दसैं बिदापछि आवश्यकताअनुसार नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण गत वर्ष नयाँ नोट वितरण गरिएको थिएन । तर बैंक तथा वित्तीय संस्थालाई भने यो सुविधा दिइएको थियो । सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्दा पनि त्यसबेला ३३ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बाहिरिएको थियो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी करिब ५२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो ।
दसैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै थियो । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।
बर्सेनि दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले यसको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । फलतः खर्च गर्ने प्रवृत्ति पनि बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य पनि बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न दिन नहुने अर्थशास्त्री सुझाउँछन् । नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको पनि उनीहरूको भनाइ छ ।
राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ । सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल चलान गर्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्न सक्ने छुट कानुनमा छ ।

अर्थ वाणिज्य

सपिङ मलहरूमा छुटको प्रतिस्पर्धा

- नुमा थाम्सुहाङ

(काठमाडौं) - चाडपर्वको अवसर पारेर नाम चलेका सपिङ मलहरूबीच छुट दिन प्रतिस्पर्धा नै चलेको छ । दसैं सुरु भएसँगै सपिङ मलहरूमा ग्राहकहरूको भीड पनि छ । यही भीडलाई आकर्षित गर्न सपिङ मलहरूले सामान खरिदमा छुट अफर राखेका हुन् ।
उपत्यकाभित्रका केएल टावर, सिभिल मल, बीजी मललगायत सपिङ मलहरूले दसैंतिहार विशेष छुट योजना ल्याएका छन् । जसअनुसार लत्ताकपडा, घरेलु सामानलगायतको खरिदमा ग्राहकहरूले सिनेमाको टिकट, सपिङ भौचर, टीभी, फ्रिज, मिक्स्चर, ग्राइन्डर, मोटरसाइकल, स्कुटर र टुर प्याकेजको सुविधा तथा उपहार पाउन सुक्नेछन् ।
चाबहिलस्थित केएल टावरले चाडपर्वलक्षित ‘टीभीएस रमाइलो दसैंतिहार’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू पाउनेछन् । बम्परमा एक जनाले टीभीएस अपाची आरटीआर १६० टुभी पाउने संयोजक हीरामणि तिमिल्सिनाले बताए । ‘दैनिक उपहार योजनाअन्तर्गत एक जोडीले सिनेमा हलको टिकट, हजार रुपैयाँ बराबरको सपिङ भौचर र उपहारहरू पाउनेछन्,’ उनले भने, ‘साप्ताहिक विजेताले सीजीका होम अप्लाइन्सेस, टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायत उपहार पाउनेछन् ।’ यी योजनामा सहभागी हुन कम्तीमा हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्नेछ ।
गोंगबुस्थित बीजी मलले दसैंमा घरमा जानेहरूलाई लक्षित गर्दै ‘फ्यान्टास्टिक दसैंतिहार’ योजना ल्याएको छ । योजनाअनुसार ५० भन्दा बढी आउटलेटहरूले आफ्ना सामग्रीमा ३०–४० प्रतिशत छुट दिएको बीजी मलका समेत संयोजक रहेका तिमिल्सिनाले जानकारी दिए । ‘बालबालिकादेखि बूढापाकासम्मका कपडा, इलेक्ट्रोनिक्स सामान, विभिन्न ब्रान्डका मोबाइलमा छुट दिइएको छ,’ उनले भने, ‘मलभित्र सपिङ गर्दा ग्राहकहरूले १२५ सीसीको टीभीएस एनटर्क स्कुटर र अन्य इलेक्ट्रोनिक्स सामानहरू उपहारमा पाउनेछन् ।’ सुन्धारामा रहेको सिभिल मलले मोटरसाइकल जित्न सकिने योजना ल्याएको छ । दसैंतिहारमा किनमेल गर्ने ग्राहकले बम्परमा टीभीएस अपाची आरटीआर १६० टुभी मोटरसाइकल जित्न सकिने योजना रहेको मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । ‘ग्राहकहरूले इलेक्ट्रोनिक्स सामान, ट्राभल प्याकेज, गिफ्ट भौचरसमेत पाउने योजनामा छ,’ उनले भने, ‘हरेक साता एक जनालाई १० हजार रुपैयाँको नगद भौचर दिइनेछ । साथै मलमा सामान किन्नेले ७० प्रतिशतसम्म छुट पाउनेछन् ।’
हरेक साता एक जोडीलाई दुई रात तीन दिनको बसाइसहित पोखरा राउन्ड ट्रिपको व्यवस्था रहेको उनले जानकारी दिए । ‘साथै एक जनाले टीभीएस एनटर्क स्कुटर जित्न सक्छन्,’ उनले थपे, ‘यसका लागि सिभिल मलको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, युट्युब च्यानललाई फलो गर्नुपर्नेछ ।’ मलमा हजार रुपैयाँभन्दा बढीको किनमेल गर्ने मात्रै यो योजनामा सामेल हुन सक्ने उनले बताए ।
होम एप्लाइन्सस, इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडालगायत सबै सामान एकै स्थानमा पाइने भएकाले किनमेल गर्न सपिङ मलमा उपभोक्ताहरूको भीड लाग्ने गर्छ । कतिपयलाई छुट तथा उपहार योजनाले पनि किनमेलका लागि मलसम्म पुर्‍याउँछ । यही तथ्यलाई ध्यानमा राखी ललितपुरको पुल्चोकस्थित लबिम मलले पनि दसैंमा छुट योजना ल्याएको छ । मलले उपभोक्ता लक्षित विभिन्न सामग्रीहरूमा छुट अफरहरू राखिएको जनाएको छ । उपत्यकाका अन्य मलका आउटलेटहरूले पनि आफ्ना नयाँ सामानहरूमा १०–१५ प्रतिशत छुट र पुराना सामानहरूमा सेल अफर राखेका छन् । उपत्यकामा यस्ता मलहरू दुई दर्जनभन्दा बढीको संख्यामा छन् ।

अर्थ वाणिज्य

माग कम भएपछि खसीबोकाको मूल्य किलोमै २० रुपैयाँ घट्यो

- राजु चौधरी

(काठमाडौं) - खसी बजारमा सर्वसाधारणको चहलपहल कम भएपछि व्यवसायीले खसीबोकाको मूल्य किलोमा २० रुपैयाँ घटाएका छन् ।
स्वदेशी उत्पादनसँगै भारतबाट समेत पर्याप्त मात्रामा खसीबोका आयात भएपछि चौपाया व्यवसायी संघ कलंकीले मगलबार किलोमा २० रुपैयाँ घटाएको जनाएको छ । ‘भारतबाट सोमबार राति ५/७ ट्रक खसीबोका भित्रियो । स्वदेशकै विभिन्न जिल्लाबाट पनि ३/४ गाडी आए, थप आउने क्रम जारी नै छ,’ संघका निवर्तमान अध्यक्ष दीपक थापाले भने, ‘पर्याप्त उपलब्धतासँगै खसीबोकाको मूल्य २० रुपैयाँ घटेको छ ।’ खसीबोका फूलपातीदेखि नवमीसम्म बिक्री हुने हुँदा व्यवसायीहरूले थप मगाइरहेका छन् । उपत्यका भित्रिने क्रम अझै जारी नै छ । जसले गर्दा मूल्य घटेको संघले जनाएको छ ।
संघका अनुसार सोमबारसम्म कलंकी बजारमा स्वदेशी खसीबोका प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार प्रतिकिलो ६ सय ५० रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भएको छ । भारतीय खसीबोका प्रतिकिलो ७ सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार भने प्रतिकिलो ६ सय ८० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा बिक्री भएको जनाएको छ । ‘यस्तै अवस्था रहिरहे मूल्य अझै घट्छ,’ थापाले भने ।
अहिले बजारमा स्वदेशी ५० र भारतीय ५० प्रतिशत खसीबोका कारोबार भइरहेको छ । ‘भारतीय खसीबोका लखनऊ, मध्यप्रदेश, कलकत्ता, दिल्लीलगायत क्षेत्रबाट आयात भएको छ । स्वदेशी खसीबोकाको हकमा बाँके, बर्दिया, सल्यान, सुर्केत, मन्थली, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खरिद भएको छ,’ थापाले भने ।
दसैंका लागि खसीबोका मुख्यतः फूलपाती, अष्टमी र नवमीमा बिक्री हुन्छ । गत वर्ष दसैंमा मात्रै ४५ देखि ५० हजार खसीबोका बिक्री भएको थियो । उक्त खसीबोका प्रतिकिलो ६ सय ६० देखि ६ सय ७० रुपैयाँमा बिक्री भएको थियो । माग बढ्दै गर्दा किलोको ८ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले भने दसैंमै मूल्य घटाएका हुन् ।

च्याङ्ग्रा महँगो
च्याङ्ग्राको हकमा भने अचाक्ली महँगो भएको छ । चीनबाट च्याङ्ग्रा आयात नहुँदा बिचौलियले मूल्य अति नै बढाएका छन् । व्यवसायीका अनुसार किसान र उपभोक्तासम्म आइपुग्दा तीन तह पार गर्नुपर्छ । जसले गर्दा मूल्य बढेको हो । चीनबाट आयात नहुँदा एउटै च्याङ्ग्राको मूल्य ३८ हजारदेखि ४० हजार रुपैयाँ परेको संघले जनाएको छ । महँगोकै कारण यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा आयात गरेन । खाद्यले दसैंका लागि एक हजार च्याङ्ग्रा आयात गर्ने जनाए पनि खरिद गर्न सकेन ।

सहुलियतका खसी सकिन लागे
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साढे १९ सय खसीबोका बिक्री गरेको छ । हस्तक्षेप गर्न भन्दै सहुलियतमा बिक्री सुरु गरेको खाद्यले तीन दिनमा १९ सय ४९ खसीबोका बिक्री गरेको हो । ‘यस वर्ष २ हजार खसीबोका खरिद र बिक्री गर्ने लक्ष्य राखेको थियो । मंगलबार १ बजेसम्म १९ सय ४९ खसीबोका बिक्री भइसकेको छ,’ कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘अब ४० वटा मात्रै बाँकी छन् । मंगलबार बेलुकी नभए बुधबार बिहानसम्म सबै सकिन्छ ।’ खाद्यले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ ।
खाद्यले खसीबोका दाङ, मकवानपुर, हेटौंडाबाट खरिद गरेको जनाएको छ । उक्त क्षेत्रमा २५ किलोदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५ सय ६५ रुपैयाँ, २० देखि २५ किलोको खसीको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ र बोका प्रतिकिलो ५ सय ४५ रुपैयाँमा खरिद गरेको थियो । खसीबोका खरिद गर्नका लागि जिल्ला प्राथमिक खरिद समिति हुन्छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले खरिद गर्छ । उक्त खसीबोकामा प्रतिकिलो ९० रुपैयाँ जोडेर बिक्री मूल्य निर्धारण गरेको हो ।
सूचना अधिकारी न्यौपानेका अनुसार गत वर्ष २ हजार खरिद गर्ने लक्ष्य राखे पनि १५ सय १० वटामात्रै बिक्री भएको थियो । यस वर्ष भने खरिद र बिक्री राम्रो भएको उनले बताइन् । ‘बजार हस्तक्षेप गर्न खोजेका थियौं । लक्ष्य पूरा भएको छ,’ उनले भनिन्, ‘लक्ष्यअनुसार खरिद र बिक्री भएको छ । बजारभाउ पनि आकासिएको छैन ।’

अर्थ वाणिज्य

धौवादी फलाम खानीमा ड्रिलिङ

- कान्तिपुर संवाददाता

(पूर्वी नवलपरासी) - फलामको मात्रा यकिन गर्न धौवादी फलाम खानी क्षेत्रका ५ स्थानमा ड्रिलिङ थालिएको छ । भूगर्भविद्हरू अर्जुन भण्डारी र पशुपति गैरेको टोलीले फलाम खानीका ५ भिन्न स्थानमा ड्रिलिङको काम अघि बढाएको हो ।
जमिनको सतहबाट २ सय ४० मिटर, २ सय ६८ मिटर, २ सय १० मिटर, १ सय ६५ मिटर र १ सय २ मिटर ड्रिलिङ गरिएको छ । तीमध्ये धौवादी र पोखरी क्षेत्रमा गरिएको नमुना परीक्षणमा फलामै फलाम भेटिएको छ भने अन्यत्र फलामभन्दा ढुंगाको मात्रा बढी भेटिएको भूगर्भविद् सौनक भण्डारीले बताए । ढुंगा र फलाम मिश्रित चट्टानको नमुनाको थप विश्लेषण भइरहेको उनले जनाए । ‘धौवादी पहाडको १० किलोमिटर क्षेत्रमा कम्तीमा १० करोड टन फलाम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । संकलित नमुनामा २५–६५ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ,’ उनले भने । संसारका अन्य फलाम खानीको अवस्था विश्लेषण गर्दा ६५ प्रतिशतभन्दा बढी फलामको मात्रा भएको स्थानलाई उत्खननका लागि उपयुक्त मानिन्छ । हालसम्म गरिएको उत्खननलाई विश्लेषण गर्दा यहाँ उद्योग नै स्थापना गरेर फलाम निकाल्न उत्साह जगाउने परिणाम (ढुंगामा फलामको मात्र बढी हुनुपर्ने) भने नभेटिएको उनको भनाइ छ । उनका अनुसार पहाडमा जति धेरै मात्रामा फलामको परिणाम भेटिन्छ उति नै उत्पादन लागत सस्तो पर्छ र बजारमा मूल्यमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ । फलामभन्दा ढुंगाको मात्रा बढी हुँदा २/३ पटक प्रशोधन गर्दा लागत बढ्छ र बजार मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन ।
५ स्थानबाट निकालेको नमुना शनिबार काठमाडौं लगिएको छ । खानी तथा भूगर्भ विभागको प्रयोगशालामा त्यसको थप परीक्षण गरेर फलामको मात्रा यकिन गरिने भण्डारीले बताए । गत साता निकालिएको नमुनामा फलामको मात्रा यकिन भएपछि फलामखानी सञ्चालन गर्न डीपीआरलगायतको काम अघि बढ्ने उनको भनाइ छ ।

समितिमा स्थानीय प्रतिनिधि राख्न माग
जतिसक्दो छिट्टै फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेडलाई निजीकरण गर्न स्थानीय र जनप्रतिनिधिले समेत माग गरेका छन् । हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डले धौवादी फलाम खानीबाट फलाम निकाल्न निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने धारणा राखिन् । ‘निजी क्षेत्रले काम चाँडो गर्छ,’ उनले भनिन्, ‘हाल कम्पनीले सरकारी कर्मचारी मात्र राखेर काम अघि बढाउँदा ६ वर्षसम्म पनि कछुवाको ताल भएको छ ।’
फलाम खानीसम्म पुग्ने पक्की सडक र बिजुलीको कामसमेतले गति नलिएको उनको गुनासो छ । सञ्चालक समितिमा जनप्रतिनिधिलाई समेट्नसमेत उनले माग गरिन् । ‘कर्मचारी भर्ती केन्द्र जस्तो बनाउँदा जागिर खाने र दिन कटाउनेबाहेक फिल्डमा काम देखिएकै छैन,’ उनले भनिन्, ‘समितिमा स्थानीयलाई राख्दा उत्तरदायित्व बढ्छ र काम चाँडो अघि बढ्छ ।’
हाल कम्पनीमा ९ जना कर्मचारी छन् । खानी तथा भूगर्भक्षेत्रका विज्ञ राखिनुपर्नेमा अन्य क्षेत्रकै व्यक्ति भर्ना गरिएको गुनासो कार्यालयभित्रै छ । सरकारले गत वर्ष नियुक्त गरेका कम्पनीका सीईओसमेत बाढीपहिरो विज्ञ छन् । डा. जनकबहादुर चन्दलाई निमित्त दिएर सीईओ नियुक्त गरेपछि विरोध भएको थियो ।

Page 8
खेलकुद

फाइनलको ढोका ढकढकाउँदै नेपाल

- हिमेश

(माले, माल्दिभ्स) - फुटबलमा कुनचाहिँ स्थिति ठीक हो ? खेलमा निश्चित जितको आवश्यकता कि बराबरी भए पनि पुग्ने । यसको उत्तर सजिलो छैन, तर नेपालले बुधबार त्यसकै उत्तर खोज्ने प्रयास गर्नेछ, जति बेला साफ च्याम्पियनसिप २०२१ मा नेपालले बंगलादेशको सामना गर्नेछ । दुवै टिमका लागि यो लिग चरणको अन्तिम खेल हो । बुधबार नै एक अर्को खेल पनि हुनेछ, आयोजक र डिफेन्डिङ च्याम्पियन माल्दिभ्सविरुद्ध भारत ।
राउन्ड रोबिनका आधारमा चलिरहेको यसपल्टको प्रतियोगितामा सेमिफाइनलको व्यवस्था छैन, सिधै फाइनल खेल्ने हो । तर मज्जा के भएको छ भने यी दुई खेल अघोषित सेमिफाइनल भएका छन् । नेपाल र माल्दिभ्स एक कित्तामा छन् भने अर्को कित्तामा छन्, बंगलादेश र भारत । नेपाल र माल्दिभ्सलाई बराबरी भए पनि पुग्छ, जित भए त झन् राम्रो । बंगलादेश र भारतलाई भने जित नै चाहिन्छ, बराबरी भएर पुग्दैन । प्रश्न त्यही हो, कसलाई सजिलो हुनेछ, कसलाई गाह्रो ?
तय छ, जित नै चाहिने टिम आक्रामक हुनेछन् । उसले दायाँ हेर्ने छैन, बायाँ हेर्ने छैन, सिधै आक्रमण गर्नेछ, किनभने उसका लागि हार र बराबरी दुवै समान हुनेछ । यस्तोमा एक खाले दबाब नेपाल र माल्दिभ्सलाई हुन सक्नेछ । तर खेलमा उपलब्ध तीन सम्भावित नतिजामध्ये दुई आफ्नो पक्षमा छ भने त्यसैअनुसार रणनीति तयार पार्ने अवसर पनि हुनेछ, अर्को कित्तामा रहेको टिमलाई । केही हदसम्म खेलाडी यसमै टिकेर आत्मविश्वासले खेल्न पनि सक्छन् ।
नेपाल र माल्दिभ्स दुवैको समान ६ अंक छ । नेपालले सुरुमै माल्दिभ्स र श्रीलंकालाई हरायो, त्यसपछि भारतसँग पराजित भयो । माल्दिभ्स सुरुमा नेपालसँग पराजित भयो, पछि उसले बंगलादेश र श्रीलंकामाथि जित निकाल्यो । बंगलादेश र श्रीलंकासँग बराबरी खेलेपछि भारतले नेपाललाई हराएको हो । उसको पाँच अंक छ । बंगलादेशले सुरुमा श्रीलंकालाई हरायो, पछि भारतसँग बराबरी खेल्यो । त्यसलगत्तै माल्दिभ्ससँग पराजित भएको हो ।
यस्तोमा माल्दिभ्स र भारतले लय समातेका छन्, एक प्रकारले भन्दा ‘मोमेन्टम’ छन्, यी दुवै टिम । त्यसैले यो प्रतियोगिताकै सर्वाधिक रोमाञ्चक खेल हुन सक्नेछ, त्यसमाथि नेसनल स्टेडियमको ‘सेलआउट क्राउड’ । नेपाल र बंगलादेश दुवैले आ–आफ्ना पछिल्ला खेल गुमाएका छन्, त्यसैले दुवै पुनरागमन गर्ने प्रयासमा छन् र यो पुनरागमन पनि कस्तो भने यसले टिमलाई फाइनल पुर्‍याउने छ । त्यसैले यो खेल पनि कम्ती रोमाञ्च हुने छैन ।

दुई निर्णायक स्थिति
यो त भयो, खेल अगाडिको स्थिति । अन्य दुई स्थितिले पनि यी अघोषित सेमिफाइनललाई प्रभावित पार्न सक्नेछ । पहिलो स्थिति, दिउँसोको खेल । अहिलेको प्रतियोगितामा एउटा खेल मालेको स्थानीय समयअनुसार चार बजे भइरहेको हुनेछ भने अर्को खेल राति नौ बजे । अबेर रातिको खेलको तुलनामा दिउँसो खेल्न सबैले गाह्रो महसुस गरिरहेका छन् । मालेमा दिउँसोको समय निकै गर्मी रहेको छ र यति बेला खटेर खेल्न खेलाडीलाई गाह्रो नै छ ।
संयोग कस्तो भने नेपालले अहिलेसम्म दिउँसोको खेल खेल्नुपरेको छैन । नेपालका तीनै खेल राति परेका थिए । यस्तोमा नेपाल पहिलोपल्ट दिउँसो खेल्दै छ । अब दोस्रो स्थिति, लगातार खेल्नुको । श्रीलंका र बंगलादेशका प्रशिक्षकले के गुनासो गरेका छन् भने लगातार खेल्दा आफ्ना खेलाडीलाई केही न केही गाह्रो भएकै छ । श्रीलंका त झन् अभाग्यशाली रह्यो, उसले लगातार चार खेल खेल्यो र एक अंक मात्र बटुलेर यो टिम घर पनि फर्किसकेको छ ।
माल्दिभ्सविरुद्धको खेल गुमाएपछि बंगलादेशी प्रशिक्षक ओस्कार ब्रुजोनले भनेका थिए, लगातार दुई खेलपछि उनका खेलाडी निकै थकित थिए, त्यसैले लगातार समान गतिले खेल्न सकेनन् । माल्दिभ्सविरुद्धको खेलपछि भने बंगलादेशले केही दिनको आराम पाएको छ । बंगलादेशले यो समय खेलाडीलाई पुनर्ताजगी दिन प्रयोग गरेको छ । ओस्कारकै शब्दमा उनका खेलाडीले राहत महसुस गरेका छन् । यस्तोमा नेपालसामु केही कठिन स्थिति तेर्सिएको छ । एक त नेपालले पहिलोपल्ट दिउँसो खेल्दै छ, अर्कोतर्फ नेपाली खेलाडीले बंगलादेशी समकक्षीले जस्तो आरामको अवसर पाएका छैनन् । तर फुटबलमा एउटा अर्को तथ्य के पनि रहेको छ भने यस्तै परिस्थिति र परीक्षामा त टिमले राम्रो खेल्ने । नेपाली टिमले यी दुवै चुनौतीलाई स्विकार्ने छ र त्यसैअनुसार खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि त्यहीअनुसार रणनीति तयार पार्नेछन् र खेलाडीले त्यसलाई मैदानमा उतार्ने पनि छन् ।
त्योभन्दा पनि ठूलो तथ्य के हो भने नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुग्न सकेको छैन । यो अरूलाई खिस्सी उडाउने विषय भएको छ भने नेपालका लागि लज्जा । नेपाली खेलाडीले प्रतियोगिताको फाइनल खेल्ने सपना बुनेको धेरै भइसक्यो, तर त्यो
जुरिरहेको थिएन । फेरि एकपल्ट नेपाल फाइनलको नजिक छ । अझ भन्दा, फाइनलको ढोका ढकढकाउँदै छ, नेपाल । यस्तो अवसर विरलै मात्र आउँछ, नेपाल त्यसमै चुकेको कल्पना मात्र पनि गर्न सकिन्न ।

खेलकुद

बान्डोस टापुमा दसैं

- कान्तिपुर संवाददाता

माले, माल्दिभ्स– खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, तर त्यसको मज्जा पनि त छ, अनि यो कम्ती दुर्लभ छैन पनि । यस्तै यस्तै अनुभवबाट गुज्रनेछन्, गुज्रिरहेका छन्, नेपाली राष्ट्रिय फुटबल टिम । माल्दिभ्सको मालेमा साफ च्याम्पियनसिप २०२१ चलिरहेको छ र टिम यतै छ ।
टिम आफैं भने मालेबाट दस किलोमिटर जति टाढा रहेको बान्डोस टापुमा छ, त्यसैले यसपल्टको पर्व हुनेछ, ‘बान्डोस टापुको दसैं’ । केही फुटबल पदाधिकारी र पत्रकार भने मालेमै छन् । कोभिड– १९ को सजगताका कारण टिमले बाहिरबाट आएका कसैलाई भेट्ने अवसर पनि दिइएको छैन । टिम माले आउँछ, खेल्छ र फेरि खुरुखुरु बान्डोस टापु फर्कन्छ । अहिलेसम्म यही स्थिति रहेको छ । मालेमा रहेका पदाधिकारी र पत्रकार सोमबार त्यस टापुको नजिकसम्म भने पुगे ।
तर भित्र जान पाएनन् । टापुबाट केही खेलाडी र पदाधिकारीले फेरीमा सवार समूहको अभिवादन स्विकारे । सन्चो, बिसन्चो सोधे र फेरीले अर्कै बाटो तय गर्‍यो । खेलाडी र तिनीहरूसँग रहेका पदाधिकारीलाई गुनासो छ, कतै कहीं जान पाइएको छैन । तर यही गुनासोबीच पनि दसैं मनाउने तयारी भने जोडतोडले चलिरहेको छ । विशेषतः टीकाको दिन सबैले पर्खिरहेका छन् । यसका लागि जोडजाड गर्ने काम भने टिमका व्यवस्थापक मधुसूदन उपाध्यायले गरिरहेका छन् । उनीसँग दसैं टिमसँगै मनाएको अर्को अनुभव पनि छ ।
दुई वर्ष अगाडि दसैंकै बेला नेपाली टिम अस्ट्रेलियामा थियो, विश्वकप छनोट खेल्ने क्रममा । त्यति बेला पनि रमाइलो नै भएको थियो । कोभिड–१९ को समस्या थिएन, त्यसैले कोही कसैलाई भेट्न सजिलै सकिन्थ्यो । त्यसैले अस्ट्रेलियामा रहेका केही नेपालीसँगै दसैं मिनाउने काम भएको थियो । यसपल्ट भने साफ च्याम्पिनसिपले यस्तै अवसर जुराएको छ । तर दसैं मनाउने तरिका भने पक्कै फरक हुनेछ ।
प्रतियोगिता दसैंकै बेला परेको छ, त्यो त सबैलाई पहिलेदेखि नै थाहा थियो, त्यसैले व्यवस्थापक उपाध्यायले काठमाडौंमा छँदै पूरा तयारी गरेका थिए । त्यहाँबाटै चाहिने सबथोक माल्दिभ्स ल्याए, त्यसैले त उनले बान्डोस टापुको आफूहरू बसेको होटलको एउटा कोठामा जमरा रोपेका छन् र अहिले त्यो सरक्क बढेको पनि छ । टीका थाप्दा अक्षेता र अबिर पनि त चाहियो, त्यो पनि उनले काठमाडौंबाट ल्याएका छन् । अनि उनी नरिवल फोड्ने तर्खरमा छन् । आखिर माल्दिभ्स नरिवल पाइने देश पनि त हो । नेपाली टिममा रहेका खेलाडी र पदाधिकारीमध्ये सबैभन्दा जेठा हुन्, रवीन्द्र श्रेष्ठ । संयोगले उनी दुई वर्ष अगाडि अस्ट्रेलियामा पनि थिए । अहिले पनि छन् । यिनै श्रेष्ठसँग टीक थाप्ने कार्यक्रम छ । व्यवस्थापक उपाध्यायलाई के लाग्छ, भने परिवारसँग दसैं मनाउनुको मज्जा र अर्थ बेग्लै छ । तर सबै त्यति भाग्यमानी पनि हुँदैनन्, जसले खेलाडीसँग दसैं मनाउने अवसर विदेशमा पाउँछन्, नेपालबाट टाढाटाढा । अनौपचारिक कुराकानीमै सही, नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण लिम्बू भन्थे, परिवारसँग दसैं मनाउन नपाउँदा मन खल्लो त हुन्छ नै । उनी भन्थे, ‘तर आफू पर्‍यो, खेलाडी मान्छे । खेलाडीका लागि त देशको लागि खेल्नु नै ठूलो हो नि, होइन र ?’ हो नै । पक्कै पनि ‘बान्डोस टापुको दसैं’ विशेष हुनेछ । त्यो अझ विशेष हुनेछ, जति बेला नेपालले प्रतियोगिताको फाइनल खेल्ने निश्चित हुनेछ । सबै खेलाडी यस्तै कामना गरिरहेका छन् र यसका लागि चाहिनेछ, सबै फुटबलप्रेमीको आशीर्वाद र माया ।

खेलकुद

दसैं कप भारतीय टोलीलाई

- नारायण खड्का

(अस्ट्रेलिया) - बडादसैंको उपलक्ष्यमा दक्षिण अस्ट्रेलियामा आयोजना गरिएको दसैं कपको उपाधि भारतीय टिम सहिद भगतसिंह (एसबीएस) फुटबल क्लबले जितेको छ । प्रतियोगिताको उपाधिसँगै उक्त टिमले १५ सय डलर र ट्रफी हात पार्‍यो ।
यहाँस्थित एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी) ले विगत ९ वर्षदेखि दसैंको अवसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा दक्षिण अस्ट्रेलियामा रहेका नेपाली, नेपालीभाषी भुटानी तथा एक भारतीय टिमले सहभागिता जनाएका थिए । लिग चरणअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा १० टोली सहभागी थिए ।
शनिबार र आइतबार दुई दिनसम्म आयोजना गरिएको प्रतियोगितामा मुख्य टिमका साथै बालबालिका तथा ३५ वर्षमाथिका खेलाडी (भेट्रान समूह) को पनि सहभागिता थियो । भेट्रानतर्फको उपाधि समेत एसबीएसले नै जितेको छ । उक्त टिमले फाइनलमा ब्रदर्स युनाइटेड फुटबल क्लबलाई ५ गोलले पराजित गरेको थियो ।
विजेता भेट्रान क्लबले ७ सय ५० डलर तथा ट्रफी हात पारेको छ । यसैगरी बालबालिकाको
खेलमा नेपाली पाठशालाको टिमले नेपाली विद्यालयको टिमलाई
पेनाल्टी सुटआउटमा जितेको
थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालगायतलाई समेत ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो ।
विवादपछि विजेता घोषणा
आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक एकेएफसी र एसबीएसबीच खेल चलिरहेको समयमा खेलाडीबीच हातपातको अवस्था सिर्जना भएपछि आयोजकले प्राविधिकको सहयोगमा एसबीएसलाई विजयी घोषणा गरेका थिए । खेलका क्रममा एसबीएसका एक खेलाडीले विपक्षी टिमका खेलाडीलाई मुक्का हानेपछि विवाद चर्किएको थियो । विवाद चर्किएर हातपातको अवस्था सिर्जना भएपछि रेफ्रीले खेल समाप्त गरेका थिए । आयोजक संस्थाले आपसी छलफलपछि भारतीय टिमलाई विजेता घोषणा गरेको थियो ।
खेलपश्चात् आयोजक एकेएफसीका महासचिव राजन लामिछानेले दुई दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन भएको घटनाले आफूहरूलाई दुखित बनाएको र भविष्यमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले विदेशमा नेपाली चाडपर्व, कलासंस्कृतिको जगेर्नाका साथै प्रतिभा भएका नेपाली युवाहरूलाई अवसर दिने मुख्य उद्देश्यका साथ ९ वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेको र आउने वर्षसमेत दसैंको अवसरमा प्रतियोगिता आयोजना हुने सुनाए ।

तास्मानियामा बिकास्टलाई दसैं कपको उपाधि
तास्मानियाको होबार्टमा सम्पन्न भएको दसैं कपको उपाधि त्यहाँस्थित भुट्निज कम्युनिटी होबार्ट फुटबल क्लब
(बिकास्ट) ले जितेको छ । उक्त टिमले नेप्लिज फुटबल क्लब अफ तास्मानियालाई पेनाल्टी सुटआउटमा हराएको हो ।
पहिलोचोटि आयोजना गरिएको प्रतियोगितामा राज्यका ७ टिमले सहभागिता जनाएका थिए । नेपाली सोसाइटी अफ तास्मानिया, नेप्लिज तास्मानियन स्पोटर््स एसोसिएसन र अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन तास्मानियाले आयोजना गरेको प्रतियोगिताको विजयी टिमले १५ सय डलर र ट्रफीसमेत हात पारेको छ । उपविजेतालाई १ हजार डलर र ट्रफी प्रदान गरिएको थियो । दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा राज्यकी महान्यायाधिवक्तासमेत रहेकी न्याय, कार्यस्थल सुरक्षा तथा कलामन्त्री एलिस आर्चरलगायत विभिन्न समुदायका व्यक्तिको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी दिए ।

खेलकुद

विश्वकप छनोटको रौनक

- कान्तिपुर संवाददाता

नर्थ म्यासेडोनियाविरुद्ध गोल गरेपछि जर्मनीका टिमो वेर्नर । जर्मनी ४–० ले विजयी भएको खेलमा उनले २ गोल गरेका थिए । बेलारुसविरुद्धको खेलमा बल अगाडि बढाउँदै चेक गणतन्त्रका प्याट्रिक सिक । नेदरल्यान्ड्सका भर्जिल भान डाइक जिब्राल्टारविरुद्ध पहिलो गोल गरेपछि । तस्बिरहरू ः एएफपी