नेपालगन्जकी निर्मला
लालपुर्जा हत्याउन २०६६ माघ २० मा निर्मला कुर्मीलाई लछारपछार गर्दै तत्कालीन संविधानसभा सदस्य बादशाह कुर्मी । तस्बिर सौजन्य : महिला अधिकार मञ्च, बाँके
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि महिला अधिकारकर्मी र आफन्तले संघर्ष थालेको ५१ दिन भइसक्यो । नेपालगन्ज–१७, परस्पुरकी निर्मला अहिले जीवितै छिन् वा मृत्यु भइसक्यो ? पत्तो छैन । उनको भारतमा मृत्यु भइसकेको खबर गाउँमा फैलिएको छ । तर, शव कसैले देखेको छैन । प्रहरी पनि उनको मृत्यु भइसकेको दाबी गर्छ । अधिकारकर्मीहरू भने उनको मृत्यु होइन, अपहरण र शरीर बन्धक गरी हत्या गरिएको दाबी गरिरहेका छन् ।
२०६२ सालतिरै श्रीमान् महालु कुर्मी बितेपछि निर्मलामाथि अत्याचार सुरु भएको थियो । दुई छोरा रामसागर र सुरेश भविष्यको सहारा बन्लान् भन्ने आशामा निर्मलाको जीवन चलेको थियो । तर, उनीमाथि यसरी ‘दैव’ लाग्यो कि २०६६ को कात्तिक अन्तिमतिर १५ दिनकै अन्तरमा दुवै छोरा गुमाइन् । ‘१६ र १८ वर्षका लक्का जवान । कुनै रोगको सिकायत थिएन । एक्कासि कसरी मरे ? रहस्यमय भयो,’ माइतीघर मण्डलमा धर्ना बसिरहेका मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान भन्छन्, ‘त्यसबेला पोस्टमार्टम गराउन सभासद बादशाह कुर्मीले रोके । त्यहींबाट उनको नियतमा खोट देखिन्छ ।’
छोराहरूसमेत बितेपछि निर्मला एक्ली भइन् । निरक्षर एकल महिलालाई समाजले गर्ने दुर्व्यवहार छोराहरूको मृत्युपछि झन् चर्किएको थियो । करोडौं मूल्य पर्ने उनको जग्गा हत्याउन भूमाफियाहरू सल्बलाए, जसको नेतृत्व छिमेकीसमेत रहेका सभासद बादशाहले गरे । उनले निर्मलामाथि ज्यादती गर्न थाले । त्यही क्रममा उनले निर्मलाका श्रीमान् र छोराका नाममा रहेको ५ बिघा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कब्जामा लिए ।
श्रीमान् र छोरा बितेपछि बाँच्ने आधारका रूपमा रहेको सम्पत्तिका कागजात खोसिएपछि निर्मला न्यायका लागि प्रशासन र संघसंस्था धाउन थालिन् । गाउँका ठूलाठालुदेखि जिल्ला प्रशासन कार्यालयसम्म पुगेर आफ्ना कागजपत्र फिर्ता गराइदिन हारगुहार गरिन् । उनले २०६६ माघ १८ मा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा पनि निवेदन दिएकी थिइन् ।
निर्मलाले आफूविरुद्ध जिल्लामा सबैतिर उजुरी गर्न थालेको थाहा पाएपछि बादशाह गाउँ पुगे । माघ २० मा पनि निर्मला जिल्ला प्रशासन कार्यालयबाट फर्कंदै थिइन्, बादशाहले बाटोबाटै नियन्त्रणमा लिएर निर्मलामाथि सार्वजनिक स्थानमै दुर्व्यवहार गरे । लठैतको सहयोगमा सभासदले निर्मलामाथि कुटपिट मात्रै गरेनन्, घिसारेर आफ्नै घर पुर्याएर बन्धक बनाए । अर्को दिन प्रहरीले निर्मलाको उद्धार त गर्यो तर सभासदलाई छुने आँट गरेन । बादशाहले निर्मलामाथि दुर्व्यवहार गरेको फाइल तस्बिर पनि भेटिएको छ । तर उनी भन्छन्, ‘त्यो घटनामा मेरो दोष थिएन । निर्मला एक्ली थिइन् र उनको धेरै जमिन थियो । त्यसमाथि अरूको आँखा नलागोस् भनेर मैले संरक्षण गर्न खोज्दा अधिकारकर्मीहरूले उल्टो हल्ला फिँजाए ।’
सभासदले नै एउटी एकल महिलामाथि सार्वजनिक दुर्व्यवहार गरेपछि जिल्लामा खैलाबैला मच्चियो । महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र अन्य संघसंस्थाले विरोध जनाए । त्यसैको आधारमा माघ २१ मा प्रमुख जिल्ला अधिकारीले सरोकारवालासँग छलफल डाके । तर, सभासद छलफलमै आएनन् । माघ २२ मा उनीविरुद्ध अधिकारकर्मीले नेपालगन्जमा प्रदर्शन गरे । चौतर्फी विरोध भएपछि सभासदले निर्मलाका कागजात फिर्ता गरिदिए । तर, महिलामाथि गरेको अपराधका विषयमा न अनुसन्धान भयो, न कारबाही । केवल सार्वजनिक माफी मागेर मुद्दाको छिनोफानो भयो ।
निर्मलासँग सार्वजनिक माफी माग्नुपरेपछि बादशाह आक्रोशित भएर प्रस्तुत भए । ज्यादती गर्न छाडेनन् । उनले निर्मलालाई निरन्तर त्रसित बनाएको अधिकारकर्मीको आरोप छ । ‘त्यसबेलै प्रहरीले निर्मलालाई न्याय दिनुपर्ने हो । तर, सभासदलाई छुने आँट गरेन । त्यही कारण निर्मलामाथि थप अन्याय बढ्यो । उनले ज्यानै गुमाउनुपर्ने अवस्था बन्यो,’ केन्द्रका अध्यक्ष शेर बागवान भन्छन्, ‘यो विषय यति ठूलो मुद्दा बनिसक्दा पनि अनुसन्धान गर्न प्रहरी तयार छैन, यसको कारण के हो, सबैले बुझ्नुपर्छ र बोल्नुपर्छ ।’
सभासदबाटै असुरक्षित निर्मलालाई साथी नामक संस्थाले संरक्षण दियो । उता निर्मलाको सम्पत्तिमा आँखा गाडेको गिरोहले योजना अगाडि बढाइरहेको थियो । त्यहीबीच निर्मला अचानक बेपत्ता भइन् भने उनको सम्पत्ति २/३ जनासम्म हक हस्तान्तरण भइसकेको छ । बादशाहको समूहले निर्मलालाई बन्धक बनाएर सम्पत्ति खोसेपछि बेपत्ता बनाएको अधिकारकर्मीको दाबी छ । तर, बादशाह भन्छन्, ‘मैले कागजपत्र फिर्ता दिएपछि के भयो मलाई केही थाहा छैन ।’
मञ्चले दिएको जाहेरीमा २०७५ माघ २५ को राति बादशाहको गिरोहले निर्मलाको अपहरण गरेको उल्लेख छ । अपहरणमा कृष्णमुरारी सिंह, उर्मिला कनौजिया, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी, रमेश थापा, कुवर बब्बर सिंह, धीरेन्द्र सिंह र पार्वती बिष्टको मिलेमतो रहेको उनीहरूको दाबी छ ।
एकल र निरक्षर महिला निर्मला कुर्मीलाई बेपत्ता बनाएर उनको जग्गा खोस्न जनप्रतिनिधि, कर्मचारीतन्त्र, प्रशासन र भूमाफियाहरूको मिलेमतो भएको देखिन्छ । निर्मला बेपत्ता भएको दुई वर्षपछि मृत्यु भएको खबर फैलाइएको थियो । यो बीचमा भारतीय नागरिक अर्जुन कुर्मीसँग विवाह भएको दाबी प्रहरीको छ । यसमा उनको सबै जग्गा पहिला पार्वती विष्टको नाममा गएको र त्यसपछि रमेश थापाकी श्रीमती रत्ना थापाको नाममा पास भएको देखिन्छ ।
निर्मलाबाट पार्वतीले जग्गा लिएको देखाएपछि पार्वतीको नामबाट रमेशकी श्रीमती रत्नाको नाममा सार्न अर्को षड्यन्त्र रचिएको थियो । पार्वती विष्टले तमसुक गरेर लगेको पैसा नतिरेको भन्दै रत्नादेवीले मुद्दा हालेपछि अदालतमार्फत जग्गा भराइदिने फैसला गराइएको छ । यसरी निर्मलाको जग्गा पार्वतीबाट रत्नाको नाममा सार्दा बीचमा अदालतलाई समेत उपयोग गरिएको अधिकारकर्मीहरूको भनाइ छ । यो ‘प्रमाण’ पुर्याउन मालपोतकै केही कर्मचारी खजुरा रोडस्थित रमेशको प्लाइउड फ्याक्ट्रीमा गएर पास गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
निर्मला भारत पुगेको, उनको बिहे भएको र उतै मृत्युसमेत भएको यो कथा रचना गरिएको अधिकारकर्मीहरूको भनाइ छ । निर्मलाका पति भनिएका भारतीय नागरिक अर्जुनसँग प्रहरीले लिएको बयानअनुसार निर्मला र आफूलाई बन्धक बनाएर रमेश बस्नेतले किर्ते कागज गरी जग्गा हडपेको उल्लेख छ । ‘निर्मला र मलाई रमेशको प्लाई उद्योगभित्र दुई महिना बन्धकजस्तै बनाइराखे, जबर्जस्ती किर्ते कागज बनाएर निर्मलाको जग्गा हडपे’ प्रहरी बयानमा अर्जुनले भनेका छन् ।
करिब दुई महिनासम्म फ्याक्ट्रीमा राखेपछि २० हजार दिएर भारतको अयोध्या घुम्न जाउँ भन्दै रमेशले झुक्याएको अर्जुनले बताएका छन् । घुमेर आउँदा निर्मलाको सबै जग्गा झुक्याएर आफ्नो गिरोहले लिएको अर्जुनले प्रहरीको बयानमा खुलाएका छन् । ‘दुवै पढेलेखेका थिएनौं । आफ्नो जग्गा आफूले पाउने आसमा उनीहरूले भनेअनुसार कागजमा ल्याप्चे लगाउँथ्यौं । तर, त्यो त जग्गा कब्जा गर्ने कागज रहेछ,’ उनले प्रहरीलाई भनेका छन् ।
एकाएक हराएकी निर्मलाको खोजीमा रुबी खान संयोजक रहेको ‘राष्ट्रिय महिला अधिकार मञ्च’ ले खोजबिन गरेको थियो । त्यसैका आधारमा मञ्चले गत वर्ष मंसिर १६ मा निर्मलाको खोजीका लागि प्रहरीलाई जाहेरी दिएको थियो । तर, प्रहरीले कुनै कारबाही नै अगाडि नबढाएपछि उनीहरूले चैत २० मा सरकारी वकिल कार्यालय बाँकेमार्फत जिल्ला अदालतमा सोझै मुद्दा दायर गरेका थिए । जिल्ला प्रहरीको टोलीले भारतसम्म पुगेर निर्मलाका दोस्रो श्रीमान् भनिएका अर्जुनसँग बयान लिएको छ । तर, दोषी भनिएका कसैलाई पनि पक्राउ गरिएको छैन ।
अधिकारकर्मीहरू निरन्तर आन्दोलित छन् । तर, न्यायका लागि नेपालगन्ज प्रशासनमा धर्ना दिँदा, प्रदेशका मुख्यमन्त्रीसँग हारगुहार गर्दा, नेपालगन्जदेखि काठमाडौंसम्म २० दिन पैदल यात्रा गर्दा र माइतीघरमा १० दिन अनशन बस्दा पनि सरकारले किन बेवास्ता गरिरहेको छ । प्रस्ट हुन्छ, एकल महिलाको सम्पत्ति हडप्न शक्तिशालीहरू नै एकजुट भएका छन् ।
यता, अत्याचारविरुद्धको आवाज पनि मत्थर भएको छैन । ‘प्रहरीले शक्ति र सत्ताको पछि लागेर हाम्रो जाहेरीलाई वास्तै गरेन,’ महिला अधिकार मञ्चकी सदस्य सकिना तेली भन्छिन्, ‘सभासद बादशाहकै अत्याचारले निर्मलाको सिंगो परिवार विनाश भयो । वंश नास भयो । हामी त निर्मलाका छोराहरूको समेत रहस्यमय मृत्यु भएकाले त्योसमेत उनीसँगै जोडिएको आशंका गरिरहेका छौं । सत्यतथ्य अनुसन्धान भएर दोषीलाई कारबाही नभएसम्म हामी पछि हट्ने छैनौं ।’

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)










