You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

जो ठगको फन्दामा परेर जेल पुगे

- तुफान न्यौपाने

(काठमाडौं) - बाराको परवानीपुर गाउँपालिका– १ का उमाशंकर रायभर त्यति बेला १६ वर्षका थिए । गाउँकै उमाशंकर सहनीले काठमाडौंमा राम्रो काम र तलब दिने भनेर उनलाई लोभ्याए । सानो छँदै आमा गुमाएका उनलाई बाबुको ढल्कँदो उमेरसँगै परिवारको भरथेग गर्न मुस्किल पर्दै गएको थियो । त्यसैले उनी सहनीको साथ लागेर २०७० सालमा काठमाडौं आए । मोटरसाइकल ग्यारेजमा काम सिक्न थाले । उनै सहनीले एक दिन रायभरलाई सरोजकुमार मिश्रसँग भेट गराए । सर्लाहीको गोडैता– ८ स्थायी ठेगाना भई काठमाडौं कोटेश्वरमा बस्दै आएका मिश्रले नागरिकता ल्याएर आए कम्पनीमा राम्रो तलबसहित काम लगाइदिने प्रलोभन देखाए । भोलिपल्टै रायभरले नागरिकताको फोटोकपी ल्याएर दिए । मिश्र र सहनीले थप कागजात ल्याएर उनको सही छाप गराए । फोटो खिचे र ती कागजातमा टाँसे । ल्याप्चे लगाउन अह्राए । सरकारी स्कुलमा ५ कक्षासम्म पढेर छाडेका रायभरले त्यति बेला कुनै कागजात पढेनन् ।
रायभर राम्रो तलबसहितको जागिर पाइने आसमा बसिरहे तर सहनी र मिश्र त्यसपछि फर्किएर आएनन् । आफूलाई काठमाडौं ल्याउने र जागिरको प्रलोभन दिने दुवै व्यक्ति सम्पर्कविहीन भएपछि रायभरसँग काठमाडौंमा बसिरहने उपाय भएन । घर फर्किए । उनले काठमाडौं छँदै सिकेको मोटरसाइकल मर्मतको काम गर्न झापा पुगे । २०७६ सालमा बिहे गरे । छोरी जन्मेको दुई महिना मात्रै भएको थियो, २०७७ फागुन दोस्रो साता पाटन उच्च अदालतको एउटा पत्र उनको घरमा पुग्यो । पत्रमा लेखिएको थियो, ‘राजस्व अनुसन्धान विभागको विस्तृत अनुसन्धान प्रतिवेदनले वादी नेपाल सरकारविरुद्ध अभियुक्त/प्रतिवादी तपाईंसमेत भएको राजस्व चुहावट मुद्दामा तपाईंसमेतका उपर अभियोगपत्र दर्ता भएकाले यो म्याद तामेल भएको १५ दिनभित्र प्रमाण भए सो समेत लिएर तपाईं आफैं यस अदालतमा हाजिर हुन आउनुहोला । अन्यथा मुद्दा कानुनबमोजिम हुनेछ । पछि तपाईंको उजुर लाग्ने छैन ।’
उच्च अदालतको पत्र पाएपछि उमाशंकरलाई उनका दाइ सन्तोषले झापाबाट झिकाए । उमाशंकर ऋण खोजेर काठमाडौं आए । उच्च अदालत पाटन पुगेपछि थाहा भयो, राजस्व अनुसन्धान विभागले उनका नाममा काठमाडौंमा दर्ता भएका ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स प्रालिबाट जालसाजी तथा झूटा कर बिजक जारी गरेर नक्कली कारोबार देखाई राजस्व चुहावटमा प्रत्यक्ष संलग्न भएको भन्दै मुद्दा दर्ता गरेको रहेछ ।

१० जना मुख्य अभियुक्त र सात जना मतियारलाई विभागले झूटा, जालसाजी तथा नक्कली कर बीजक जारी गरेको र मूल्य अभिवृद्धि कर, आयकर र लाभांश करबापत एक अर्बभन्दा बढी छली गरेको अभियोग मुद्दा लगाएको थियो । त्यसमध्ये रायभरलाई ब्लु क्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख ७ हजार ९ सय १३ र जेन सप्लायर्समार्फत १२ करोड ३ लाख ४३ हजार ७ सय ३९ रुपैयाँ छलेको अभियोग लगाइएको छ । दुवै कम्पनीबाट गरी छलेको भनिएको २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रुपैयाँ जरिवाना र मुद्दाको फैसला हुने समयसम्मको थप जरिवाना रकम उनीबाट असुल्नुपर्ने विभागको मागदाबी छ । साथै राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम पाँच वर्षसम्म कैद गर्न पनि माग गरेको छ ।
पत्रबारे बुझ्न झापाबाट बारा हुँदै काठमाडौं आएका रायभरलाई फागुन १९ मा उच्च अदालतलको आदेशले सीधै नख्खु कारागार पठाइएको छ । न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले उनीबाट ७५ लाख नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक जमानत लिई तारिखमा राख्नू भन्ने आदेश गरेको छ । आदेशमा भनिएको छ, ‘उक्त धरौटी दिन नसकेमा थुनुवा पुर्जी दिई कारागार कार्यालय पठाउनू ।’ बाटो खर्चसमेत ऋण गरेर आएका उमाशंकरले ७५ लाख रुपैयाँ धरौटी राख्न सक्ने कुरै थिएन । अदालतले प्रहरीको जिम्मा लगाएर नख्खु कारागार पठायो ।
उमाशंकरको परवानीपुर– १ मा ऐलानी जग्गामा फुसले छाएको सानो घर छ । परिवारका नाममा घरदेखि दुई किलोमिटर टाढा साढे चार कट्ठा खेत छ । त्यसले परिवार चलाउन कठिन पर्छ । ‘भाइको सानैदेखि बायाँ आँखामा समस्या छ । बाँच्नै धौधौ भएपछि बीचमै उसले पढाइ छाडेको हो । त्यत्रो रकम हिनामिना गर्न सक्ने भए परिवारको हालत यस्तो हुन्थ्यो
र !’ उमाशंकरका दाइ सन्तोषले कान्तिपुरसँग भने, ‘कर ठगेको भए अदालतले बोलाउँदा खुरुखुरु हाजिर गर्न किन काठमाडौं जान्थ्यौं र ?’
राजस्व अनुसन्धान विभागले उच्च अदालतमा दर्ता गराएको ८७ पृष्ठ लामो अभियोग पत्र, उमाशंकरले अदालतमा दिएको बयान, अदालतको आदेश र उमाशंकरका दाइ सन्तोषसँगको कुराकानीबाट मिश्रले उमाशंकर जस्ता सिधासाधा युवाको कागजात दुरुपयोग गरेर ठूलो रकम कर छली गरेको प्रस्ट हुन्छ । मिश्रले प्रोकरस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं ६०३५३२३४८), आरकेएस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२३२८९२), अनन्या इन्टरनेसनल (स्थायी लेखा नं. ६०५२१६४१५), इन्टरसिटी इन्टरनेसनल (स्थायी लेखा नं ६०५२१६४२८), ब्लु क्रस ट्रेडर्स (स्थायी लेखा नं. ६०४८५७६०८), जेन सप्लायर्स (स्थायी लेखा नं. ६०४२९६७७३), राज एन्ड किशोर इन्टरनेसनल (स्थायी लेखा नं. ६०३८२८६९६) र स्विफ्ट इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२९६७९९) नामक फर्म/प्रालिहरूको बैंक खाता सञ्चालक बनेर तथा एसकेएम एक्टिभ ट्रेडिङ प्रालि (स्थायी लेखा नं. ६०३५३०६४१) को सञ्चालक बनेर एक अर्ब रुपैयाँभन्दा बढी कर छलेको राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोग पत्रमा देखिन्छ । विभागले मिश्रले मूल्यअभिवृद्धि कर, आयकार र लाभांश कर ठगी गरेको भन्दै एक अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैयाँ बिगो कायम गरेर बिगो र त्यति नै जरिवाना रकम उनीबाट असुल्न माग गर्दै मुद्दा चलाएको हो ।
सर्लाहीको साविक गोडैता गाविस– ६ (हाल गोडैता नगरपालिका–८) का मिश्र यो समग्र ठगीका मुख्य ‘डिजाइनर’ हुन् । तर उनको त्यस्तो कर्मको सजाय उमाशंकरले भोग्दै छन् । मिश्र भने फरार छन् ।
मिश्रले आफ्नो नागरिकता, फोटो, दस्तखत र ल्याप्चे प्रयोग गरेर ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गराएको उमाशंकरले सुइँको समेत पाएका थिएनन् । सिटिजन्स् बैंकमा खाता खोलेर बैंकसम्बन्धी सम्पूर्ण कारोबारको अख्तियारी मिश्र आफैंले लिएका थिए । तर विभागले उमाशंकरविरुद्ध दुई कम्पनीका नामबाट झूटा
तथा जालसाजी बिजक जारी गरेर नक्कली कारोबार देखाई राजस्व चुहावटमा प्रत्यक्ष संलग्न रहेको
भन्दै मुद्दा चलायो । उमाशंकर पाटन उच्च अदालतको आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालत जानका लागि वकिल पनि नपाएर नख्खु कारागारमा थुनिए ।
विभागले उच्च अदालतमा उमाशंकरजस्ता निर्दोषदेखि यो सम्पूर्ण प्रक्रियामा संलग्न मिश्र, उनका कम्पनीमा कार्यरत कर्मचारी र लेखा परीक्षकसम्म गरी १७ जनाविरुद्ध कर छलीको मुद्दा चलाएकामा अहिलेसम्म अदालतमा हाजिर हुन पुगेका रमेश घिमिरे, वीरेन्द्रकुमार चौधरी, गंगाप्रसाद भट्टराई र तोयानाथ अधिकारी ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । टंकबहादुर राउत २ लाख र दीपक निरौला १ लाख धरौटीमा छुटे । जयकिशोर साह भने अदालतले मागेको ७० लाख धराटीमा बैंक जमानत बुझाएर छुटेका छन् । ७५ लाख धरौटी बुझाउन नसकेर परमेश्वर साह उमाशंकरसँगै नख्खु कारागारमा छन् । उनले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । गत असोज १ मा सर्वोच्च अदालतका न्यायाधीशहरू टंकबहादुर मोक्तान र सुष्मालता माथेमाले धरौटी रकम ७५ लाखबाट १० लाखमा झारिदिएका छन् तर त्यतिसमेत नबुझाएका कारण उनी कारागारमै छन् । मिश्रसँगै उमाशंकर सहनी, हीरालाल जहरा, रामबाबु सहनी, राजकिशोर सहनी, रामसुन्दर रायभर, वीरेन्द्रकुमार चौधरी, सुरेन्द्रकुमार इङ्नाम र दीपककुमार कोइराला भने फरार छन् । राजस्व अनुसन्धान विभागले मुद्दा चलाएकामध्ये कति जनाको साँच्चिकै करछलीमा भूमिका थियो र कति जना उमाशंकर जस्तै फसाइएका हुन् भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

मुख्य पृष्ठ

राजीनामा गर्न जबरालाई बारको अल्टिमेटम

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा गर्न कात्तिक १७ सम्म अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता र गरिमा कायम राख्न नसकेको निष्कर्षका साथ राजीनामा माग गरिएको बारले जनाएको छ ।
बार महासचिव लीलामणि पौडेलका अनुसार शुक्रबार बसेको बार कार्यसमितिको बैठकले उपत्यका बार इकाइका अध्यक्षहरूको समेत सुझावका आधारमा अल्टिमेटम दिने निर्णय गरेको हो । बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको इजलासमा नबस्न माग गरेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिए कात्तिक १४ देखि १७ गतेसम्म हरेक दिन बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय पनि बारले गरेको छ । बारले सर्वोच्च अदालत प्रांगणमा कात्तिक १६ मा धर्ना दिने र विरोधसभा गर्ने भएको छ । काठमाडौं उपत्यकाका इकाइमा आबद्ध कानुन व्यवसायीहरूलाई विरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन बारले आग्रह गरेको हो ।
बारले न्यायपालिकाको निर्णयहरू देशभरका ९० वटै इकाइमा परिपत्र गर्दै तिनलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ । ती इकाइका अध्यक्ष र सचिवहरूसँग भर्चुअल माध्यममार्फत छलफल गरी सुझाव संकलन गर्ने पनि निर्णय भएको बार उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

मुख्य पृष्ठ

‘स्टोर प्रयोजन’ का नाममा नेता र आफन्तको रजगज

- ज्योति कटुवाल

(सुर्खेत) - वीरेन्द्रनगर–७ स्थित मुख्यमन्त्री निवासको बायाँतर्फ आर्थिक मामिला तथा योजनामन्त्रीको सरकारी निवास छ । सरकारी आवास क्षेत्रमा पनि मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीका लागि भवन उपलब्ध छन् । तर मन्त्री गोपाल शर्मा ती सरकारी भवनमा बस्दैनन् ।
मन्त्रालयले वीरेन्द्रनगरको इत्राम शंकरचोकस्थित डन्डप्रसाद न्यौपानेको घरका दुई तला ‘स्टोर प्रयोजन’ का लागि भन्दै भाडामा लिएको छ । मन्त्री शर्मा त्यही स्टोर भनिएको आवासमा बस्छन् । दुई तलाको भाडाबापत मन्त्री शर्माबाट मासिक ५० हजार बुझिरहेको घरधनी न्यौपानेले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखापाल दीपेन्द्र सिंहका अनुसार मन्त्री शर्माको घर भाडाका लागि मुख्यमन्त्री कार्यालयले मासिक २५ हजार दिंदै आएको छ । बाँकी रकम अर्थ मन्त्रालयले ‘स्टोर प्रयोजन’ का नाममा खर्च गरिरहेको प्रदेश सरकारका एक सचिव बताउँछन् । मन्त्री हुनुअघिसम्म शर्मा सांसदका लागि उपलब्ध सरकारी आवासमै बस्थे । पर्यटनमन्त्रीको आवाससँगै जोडिएको उक्त सरकारी भवन अहिले मन्त्री शर्माका आफन्त र नजिकका कार्यकर्ताले ओगटेका छन् ।
मन्त्री शर्मा बस्ने गरेको आवासमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा बस्छन् । एमालेले कारबाही गरेपछि थापा एकीकृत समाजवादी पार्टीमा छन् । उनलाई सो पार्टीले हालै केन्द्रीय सदस्य बनाएको छ ।
आफ्नो निजी निवासमा जसलाई पनि राख्न सक्ने उनले प्रतिक्रिया दिए । ‘मेरो निजी क्वार्टर हो, म जसलाई पनि राख्न सक्छु,’ उनले भने । आफ्नो नेता भएकाले प्रकाश ज्वालालाई आफ्नो क्वाटरमा एउटा कोठा व्यवस्था गरेको उनले बताए ।
पूर्वआर्थिक मामिलामन्त्री ज्वाला हाल सोही भवनमा बसिरहेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ वैशाख २०७८ मा प्रदेशसभाबाट विश्वासको मत लिँदा ज्वालाले पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेपछि वैशाख १६ गते एमालेले उनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । त्यसपछि उनी प्रदेश सांसद छैनन् । नवगठित एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव रहेका ज्वाला कानुनअनुसार सरकारी सुविधा पाउने पदाधिकारी होइनन् । उनले आफू ‘पाहुनाका रूपमा सरकारी क्वार्टरमा बसिरहेको’ प्रतिक्रिया दिए । ‘भौतिक योजना मन्त्रालयको मात्र होइन अन्य मन्त्रालयको क्वार्टरमा पनि अतिथिका रूपमा बस्दै आएको छु,’ उनले भने, ‘गैरकानुनी सुविधा लिएको होइन ।’ मन्त्री क्वार्टरमा ज्वालाका भतिज सन्तोष बीसीको परिवार पनि बस्दै आएको छ ।
जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ पनि सरकारी आवासीय भवनमा बस्दैनन् । सुर्खेत विमानस्थल नजिकै जुम्लाका कलबहादुर लामाको घर भाडामा लिएका उनले त्यसबापत मन्त्रालयबाट मासिक २५ हजार रुपैयाँ पाउँछन् । सरकारी आवास प्रयोग नगर्ने मन्त्री शर्मा र
श्रेष्ठ मात्रै होइनन्, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्मा पनि निजी घर भाडामा लिएर बस्छन् । उनलाई मुख्यमन्त्री शाहीले राज्यमन्त्रीस्तरको सेवासुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयले भीमप्रकाश शर्माका लागि इत्राम शंकरचोकस्थित एउटा घरको तीन फ्ल्याट स्टोरका नाममा भाडामा लिएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालयले वार्षिक तीन लाख रुपैयाँ स्टोर शीर्षकमा खर्च गर्छ । जबकि ती स्टोर भन्दै भाडामा लिइएका घरमा निर्देशनालयका सामान भण्डारण होइन, नेता र तिनका आफन्तको रजगज छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकी र प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले पनि नियमविपरीत सरकारी आवास प्रयोग गर्दै आएका छन् ।
प्रदेश सरकारको खर्च मापदण्ड नियमावलीले मन्त्री, प्रदेशसभा सदस्य, योजना आयोग, लोक सेवा आयोग लगायत पदाधिकारीका लागि मासिक २५ हजार आवास खर्च दिने व्यवस्था गरेको छ । यी पदाधिकारीका लागि त्यसभन्दा बढी रकम दिन मिल्दैन । प्रदेश कर्मचारीलाई कानुनले नै आवास सुविधा नदिने भएपछि स्टोर शीर्षकमा घर भाडामा लिएर दुरुपयोग गरिएको देखिन्छ । यसरी प्रदेश सरकारले वर्षमा चार करोड हाराहारी रकम स्टोरका नाममा खर्च गरिरहेको छ । सबै मन्त्रालयका आ–आफ्ना स्टोर हुँदाहुँदै पनि भाडामा लिइएका यी थप भवनका कोठा मन्त्री, उनीहरूका सल्लाहकार, पिए, पार्टी नेता, कार्यकर्ता र उनीहरूका आफन्तले प्रयोग गर्दै आएका छन् ।
मुख्यमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयले तीनवटा फ्ल्याट स्टोरका नाममा भाडामा लिएको छ । शंकरचोकमा भाडामा लिइएको एउटा फ्ल्याटका लागि १४ हजार ८ सय ५० र इत्राममा दुई
फ्ल्याटका लागि ४३ हजार ७ सय मुख्यमन्त्री कार्यालयले तिर्छ । यी
फ्ल्याटमा मुख्यमन्त्री कार्यालयका कानून सचिव शंकरबहादुर केसी, कार्यालयका शासकीय सुधार महाशाखाका उपसचिव नोखीराम वली, कानुन महाशाखाका सहायक विनोद रेग्मी, उपसचिव गोविन्द खनाल र सहायक लेखापाल दीपेन्द्र सिंह बस्छन् । मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव केसीले आफू मन्त्रालयको निर्णयअनुसार उक्त भवनमा बस्दै आएको तर कुन शीर्षकमा भाडामा लिइएको भन्ने जानकारी नभएको बताए । स्टोर शीर्षकको रकम दुरुपयोग भए/नभएको हेर्नर् ेजिम्मेवारी आफ्नो नभएको उनको भनाइ छ ।
भाडामा सञ्चालन गरिएको कार्यालयको हकमा स्टोर शीर्षकको खर्च स्वाभाविक भए पनि सरकारी भवनमा सञ्चालन गरिएका कार्यालयले ठूलो रकम भाडामा खर्च गर्न नमिल्ने र एउटा प्रयोजनका लागि लिएर अर्को प्रयोजनमा खर्च गर्नु कानुनविपरीत हुने वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही बताउँछन् ।
‘यसले आर्थिक प्रशासन ऐनको व्यापक दुरुपयोग भइरहेको देखाउँछ,’ उनले भने ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको एकीकृत वित्तीय विवरणसम्बन्धी वार्षिक प्रतिवेदनमा प्रत्येक मन्त्रालयले स्टोर शीर्षकमा मासिक ४ लाखदेखि ५ लाखसम्म खर्च गरेको विवरण देखिन्छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सुर्खेतमा कार्यालय रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ५ लाख ५२ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५ लाख, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले ४ लाख ३२ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४ लाख ७७ हजार खर्च गरेका छन् । त्यस्तै, सामाजिक विकास मन्त्रालयले करीब ५ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ लाख खर्च गरेका छन् । प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले प्रदेश सरकारले तीन आर्थिक वर्षमा स्टोर भाडाका नाममा १० करोडभन्दा बढी रकम खर्च गरेको बताए ।
लेखा प्रणालीलाई व्यवस्थित गरी वित्तीय अनुशासन कायम गर्न लेखा परीक्षण गरिन्छ । तर, कहिल्यै पनि लेखापरीक्षण गर्ने निकाय र अधिकारीले स्टोरका नाउँमा भएको यस्तो भुक्तानीमाथि प्रश्न उठाएका छैनन् । महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्रप्रसाद पौडेल अहिलेसम्म यस्तो सूचना नपाएको भन्दै अब लेखापरीक्षणमा ध्यान दिने बताउँछन् । सरकारी भवनमा बसेमा आवास सुविधा अन्तर्गतको रकम नपाइने, आवास सुविधाको रकम पाउनेले पनि मासिक २५ हजारसम्म मात्र पाउने भएपछि स्टोर शीर्षकमा भवन भाडामा लिने जुक्ति निकालिएको हो । जसबाट आवासीय सुविधा नपाउने तहका कर्मचारीले पनि लाभ लिइरहेका छन् ।
भौतिक योजना मन्त्रालयका एक अधिकृतका अनुसार विभिन्न मन्त्रालयका कर्मचारीले समेत पहुँचका आधारमा सरकारी आवास तथा भाडाका घर आफन्त र नातागोतालाई उपलब्ध गराउँदै आएका छन् ।

Page 2
समाचार

हिमपातले गाउँमै थुनिए लिमीवासी

- जनकबहादुर शाही,छपाल लामा

(हुम्ला) - भारी हिमपातका कारण नाम्खा–६ लिमीका बासिन्दा गाउँमै थुनिएका छन् । यो वर्ष स्थानीयले गाउँ नछाड्दै हिमपात भएपछि लिमी प्राकृतिक रूपमा सिल भएको हो । हिमपातले सबै बाटो पुरिएपछि बस्ती–बस्तीबीचको आवागमन ठप्प भएको छ ।
एक साताअघि हिमपात हुँदा लिमीका जाङ, हल्जी र तिलगाउँमा झन्डै ३ फिटसम्म हिउँ जमेको छ । तीनवटै गाउँमा एक/एकवटा भिस्याट फोन छन् । तर गाउँबाट बाहिर फोन गर्दा लाग्ने भए पनि बाहिरबाट गर्दा सम्पर्क नै हुँदैन । गाउँ जाने सबै बाटो बन्द भएपछि लिमीमा आउजाउ गर्न र खाद्यान्न पुर्‍याउन समस्या भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । ‘तीनवटै गाउँमा फोन नै लाग्दैन,’ उनले भने, ‘सबै बाटो पुरिएपछि गाउँ नै सिलबन्दीमा परेको छ ।’ उनका अनुसार लिमी जान हिल्साबाट नाङमा र सदरमुकाम सिमकोटबाट न्यालु लेक पार गर्नुपर्छ । झन्डै ५ हजार मिटर उचाइका दुवै लेकमा कम्तीमा ५ फिट हिउँ परेकाले बाटो पुरिएका हुन् ।
लिमीबाट गाउँपालिकाको केन्द्र यलबाङ पुग्न २ दिन र सदरमुकाम सिमकोट पुग्न ५ दिनको पैदल दूरी छ । दुवै लेकमा डोजर लगाएर हिउँ पन्छाउन इन्धन अभावले समस्या भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘डोजरको व्यवस्था भए पनि सिमकोटबाट फ्युल पुर्‍याउन समस्या भयो,’ उनले भने, ‘यो वर्षको पहिलो हिमपात नै भारी भएपछि वैशाखयता गाउँ आउजाउ गर्न सम्भव देखिएन ।’ गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्दै दुई साताअघि सदरमुकाम आएको उनीसहित ५ जनाको टोली पनि सिमकोटमै छ । उनले गाउँमा फोन नलाग्दा थप अवस्था जानकारी हुन नसकेको बताए । यसअघि लिमीका बासिन्दाले हिउँ नपर्दै गाउँ छोडिसकेका हुन्थे । वडाध्यक्ष तामाङका अनुसार यो वर्ष गाउँ छोड्ने तयारी गर्दैगर्दा भारी हिमपात भएको हो । ‘पोहोरसम्म हिमपात हुँदा गाउँमा घर कुरुवा र गुम्बाका लामा मात्र हुन्थे,’ उनले भने, ‘तर छिटो हिउँ परेपछि सबै गाउँमै थुनिए ।’ लिमीको हल्जीमा ८०, जाङमा ३० र तिलमा २५ परिवारको बसोबास छ ।
हिल्सामै थन्कियो खाद्यान्न
चीन सरकारले नाम्खा गाउँपालिकाका बासिन्दालाई अनुदानमा उपलब्ध गराएको ३ सय ५० क्विन्टल मैदा र १ सय क्विन्टल चामल हिमपातका कारण हिल्सामै थन्किएको छ । नेपाल–चीन सीमाको हिल्सामा झन्डै ४ फिट हिउँ परेपछि खाद्यान्न ढुवानी रोकिएको हो । लिमीमा वर्षमा एक बाली उवा मात्र फल्छ । खाद्यान्न अभाव भएपछि दुई साताअघि नेपालगन्ज र सुर्खेत बस्दै आएका युवाहरूले करिब ३० क्विन्टल मैदा र घिउ खरिद गरी सिमकोटसम्म पुर्‍याएका थिए । ‘बाक्लो हिउँ परेकाले गाउँमा खाद्यान्न पुर्‍याउन सकिएन,’ स्थानीय युवा कन्चोक तामाङले भने, ‘अब त्यहाँ खाद्यान्न पठाउन चार्टर उडानको विकल्प छैन ।’ पुरानो अन्न सकिएको र नयाँ बाली नलगाउँदा गाउँमा खाद्यान्न अभाव भएको उनले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष नाम्खा गाउँपालिकाका लागि २ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जसका लागि ठेकेदार कृष्ण गुरुङसँग सम्झौता गरे पनि तिब्बतको बाटो भएर चामल ढुवानी गर्नुपर्ने भएकाले समस्या भएको कम्पनीका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । ‘सिमकोटको गोदाममा पनि चामल छैन,’ उनले भने, ‘जिल्लाभरिका सबै गोदाम रित्तिएपछि चामलको बिक्री रोकेका छौं ।’

समाचार

चिसोले छाङरु सर्‍यो टिंकर प्रहरी

- मनोज बडू

(दार्चुला) - छिट्टै जाडो बढेपछि दार्चुलाको व्यास–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी छाङरु सरेको छ । कात्तिक पहिलो साताको हिमपातका कारण अत्यधिक चिसो बढेपछि टिंकरको प्रहरी टोली छाङरु झरेको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । पिउने पानी बग्न छाडेको उल्लेख गर्दै उनले अढाई फिट जमेको हिउँमा हिँडेर प्रहरी टोली टिंकरबाट झरेको बताए ।
समुद्र सतहबाट ३ हजार ७ सय मिटर उचाइको टिंकर गाउँमा झन्डै ८० परिवारको बसोबास छ । हिउँदको चिसो छल्न उनीहरू बेंसी (सदरमुकाम खलंगा) झर्ने गर्छन् । सीमा क्षेत्र र नागरिकको सुरक्षाका लागि बसेको प्रहरी स्थानीयभन्दा अघि प्रहरी तल झरेको स्थानीयको भनाइ छ ।
सीमा प्रहरी चौकी टिंकरका इन्चार्ज प्रहरी नायब निरीक्षक हर्क महतारा नेतृत्वको टोली कात्तिक ६ मा छाङरु सरेको हो । टिंकर गाउँभन्दा माथिल्लो क्षेत्र छियालेकमा प्रहरी बस्ने गरेको छ । अहिले टिंकर गाउँसम्म छाङरुबाटै गस्ती भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उच्च हिमाली भेग टिंकरमा चिसो बढ्नेबित्तिकै बाहिर निस्कन सकिँदैन । हावा चल्ने र आकाशमा बादल लाग्नेबित्तिकै हिउँ पर्न सुरु हुन्छ । सरकारले उच्च हिमाली भेगमा बस्न सक्ने बन्दोबस्तीका सामानको व्यवस्था नगर्दा चिसोमा चौकी छोड्नुपरेको प्रहरीको भनाइ छ । टिंकर प्रहरी चौकीकै आसपास सरकारले सशस्त्र प्रहरीका लागि चिसोमा समेत बस्न मिल्ने भौतिक संरचना बनाए पनि सशस्त्र प्रहरी जान सकेको छैन । सशस्त्र प्रहरी पनि गत वर्षदेखि व्यास–१ छाङरुमा गुल्म स्थापना गरी बस्दै आएको छ । सशस्त्रले व्यास क्षेत्रको सुरक्षा निगरानी छाङरुबाट गरिरहेको छ ।
सीमित स्रोत साधनका कारण लामो तथा छोटो समयको गस्ती छाङरुबाट गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ । टिंकरको प्रहरी टोली छाङरु झरेपछि नीतिकुण्डमा रहेको प्रहरी चौकीमा बस्नलाई ठाउँ नपुग्दा छाङरु चौकीबाट चार जना व्यास–२ दुम्लिङस्थित चौकीमा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यासको नीतिकुण्डमा गत महिनाबाट प्रहरीको नयाँ भवन निर्माण भइरहेको छ ।
भारतले नेपाली भूमि मिचेर बसेको ठाउँबाट अहिले व्यास क्षेत्रमा नेपाली सुरक्षाकर्मी ६/७ किलोमिटर वरै बस्ने गरेका छन् । भारतको गर्व्याङ गाउँ र नेपालको छाङरु गाउँ जोड्ने नाका सीतापुल हो । सीतापुलमा महाकाली नदीमाथि काठेपुल छ । छाङरुदेखि १२ किलोमिटर उत्तरपूर्वमा टिंकर गाउँ पर्छ । टिंकर उत्तरतर्फको अन्तिम बस्ती हो । टिंकरबाट ५/६ घण्टा हिमाल चढाइपछि चीनको सीमा क्षेत्र पुगिन्छ ।

 

Page 3
समाचार

एमालेको राष्ट्रिय महाधिवेशन 'फास्ट ट्र्याक’ मा

- बबिता शर्मा

(काठमाडौं) - विधान महाधिवेशनमा थाती रहेका विषयहरू समाधान गर्नुपर्ने माग उठे पनि एमालेले दसौं राष्ट्रिय महाधिवेशन ‘फास्ट ट्र्याक’ बाट सम्पन्न गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन उद्घाटनलगत्तै बन्दसत्रका अन्य कार्यक्रम नराखी नेतृत्व चयनको प्रक्रिया थाल्ने निर्णय गरेको छ । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन नारायणी किनारमा र लगत्तै सौराहामा नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको हो । ‘उद्घाटनपछि सिधै निर्वाचन प्रक्रियामा लैजाने निर्णय भएको छ,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।
केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटीका सदस्य तथा मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन उद्घाटन कार्यक्रममा चार लाख मानिस उतार्ने गरी तयारी भइरहेको जानकारी दिएका थिए । असोज १५ देखि १७ सम्म ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी विधान महाधिवेशनले पार्टीको नीति, विचार र विधान पारित गरिसकेकाले एमालेले राष्ट्रिय महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गर्ने भएको हो । ‘विधान महाधिवेशनले नीति र कार्यक्रम बनायो । त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व अब चुन्छौं,’ स्थायी कमिटी सदस्य विष्णु रिमालले भने ।
महाधिवेशनमा वैचारिक मन्थन नहुने भएपछि केही नेता असन्तुष्ट छन् । उपमहासचिव घनश्याम भुसालले विधान महाधिवेशनमा पार्टीको कार्यक्रमबारे छलफल नभएकाले राष्ट्रिय महाधिवेशनमा छलफल हुनुपर्ने बताए । ‘यत्रो पार्टीको कार्यक्रम नहुनु धेरै ठूलो कुरा हो । छलफल भयो भने विकासको मोडल, विकासको भाष्यलगायत तमाम कुरामा वार्ड, पालिकादेखि पार्टीका सबै नेताले एकै थरी बोल्छन्,’ उनले कान्तिपुरसँग भने, ‘यस्ता आधारभूत र रणनीतिक प्रश्नमा छलफल नै नभएपछि जसले जति धेरै गफ गर्न सक्यो, दुनियाँलाई जति धेरै ढाँट्न सक्यो, त्यो नेता बनेर निस्कने भयो ।’
भुसालका अनुसार यस विषयमा महाधिवेशनमा छलफल गर्ने समझदारी बनेको थियो । ‘छलफल नै नगरी जसरी किनारा लगाइँदै छ, यसले पार्टी र हाम्रो राजनीतिलाई राम्रो गर्दैन,’ उनले भने । कोभिड पोजिटिभ भएपछि स्थायी र केन्द्रीय कमिटी बैठकमा उपस्थित नभएका भुसालले बिहीबार अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर विधान महाधिवेशनमा पार्टीका नीति तथा सिद्धान्त र विधानमाथि पार्टीव्यापी र प्रतिनिधिहरूका बीचमा ठोस छलफल हुन नसकेको बताएका थिए । ‘महाधिवेशनको आयोजना जे जसरी भयो, त्यसमा पार्टीको संस्थागत प्रक्रियाको घोर अवमूल्यन भयो,’ उनले पत्रमा लेखेका छन्, ‘प्रतिनिधिको निर्णय, दस्ताबेजहरूको अन्तिम तयारी, टोलीहरू र टोली नेताहरूको निर्णय, महाधिवेशन सञ्चालनको प्रक्रियालगायत क्रियाकलाप कुनै संस्थागत निर्णयबिना हुनुले एमालेको पारदर्शी र संस्थागत चरित्रलाई प्रतिनिधित्व गर्दैन । आगामी दिनमा यी कमजोरी हटाउनैपर्छ ।’
‘फास्ट ट्र्याक’ मा महाधिवेशनको तयारी गरेका अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनको संकेत गरेका छन् । ‘तलदेखि माथिसम्मै सकेसम्म प्रतिस्पर्धा नगर्ने गरी वातावरण बनाइन्छ । प्रतिस्पर्धा गर्नु नपरोस् भन्ने हो । सम्भव नभए लोकतान्त्रिक विधिबाट जान्छौँ,’ शुक्रबार केन्द्रीय कमिटी बैठकमा उनले भने । तल्ला अधिवेशनले पार्टीमा उत्साह ल्याएको र दसौं महाधिवेशन पनि भव्य रूपमा सम्पन्न गर्ने ओलीको भनाइ छ । स्थायी कमिटीका एक सदस्यका अनुसार ओली पार्टीमा विवाद कम देखाउन सकेसम्म सर्वसम्मत नेतृत्वको पक्षमा छन् । तर अहिलेसम्म त्यसको आधार बनिनसकेको उनले बताए ।
विधानअनुसार १५ पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी सदस्य महाधिवेशनबाट छानिने छन् । एक पटक केन्द्रीय सदस्य भएको कुनै पनि व्यक्ति केन्द्रीय अध्यक्षसहित कुनै पनि पदाधिकारीको उम्मेदवार बन्न पाउने र कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था विधानले गरेको छ । एमालेले ७० वर्षे उमेरहद लागू गर्ने निर्णय गर्दै त्यसको थप व्याख्या गरेको छ । कुनै पनि नेताले ७० वर्ष उमेर ननाघ्दै कार्यकारी पदमा निर्वाचित भएर बीचमै ७० वर्ष पूरा भए पनि कार्यकाल पूरा गर्न पाउनेछ । एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक मंसिर ९ मा सौराहामा बस्ने भएको छ । पार्टी विभाजनलगत्तै एमाले महाधिवेशनमा केन्द्रित छ । महाधिवेशनकै कार्यतालिकाअनुसार उसले कात्तिक ६ मा अधिकांश वडा र ९ मा अधिकांश पालिकाको अधिवेशन सकेको छ । बाँकी वडा र अधिवेशन चाँडै सक्ने एमालेको तयारी छ ।
महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय एमालेले गरेको छ । शुक्रबारको स्थायी कमिटी बैठकमै दसौं राष्ट्रिय महाधिवेशनमा प्रयोग हुने विद्युतीय मतदान मेसिनमा केही नेताले नमुना मतदानसमेत गरेका थिए । परीक्षणपछि उक्त मेसिन मतदानका लागि प्रयोग गर्न सकिने निष्कर्षमा केन्द्रीय कमिटी बैठक पुगेको छ । दसौं महाधिवेशनबाट नेतृत्व चयन गरेर सम्पूर्ण शक्तिसहित चुनावी रणनीतिमा जुट्ने एमालेको तयारी छ । अध्यक्ष ओलीले चुनावी तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । आगामी चुनावमा पहिलो पार्टी बन्ने एमालेको दाबी छ ।
स्थायी कमिटीको निर्णय संशोधन गर्दै केन्द्रीय कमिटीले पार्टीको दसौं महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ । बैठकले कात्तिक २७ मा देशैभर एकसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय लिएको छ । बिहीबार स्थायी कमिटी बैठकले भने १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिको संख्या घटाउने निर्णयमा स्थायी कमिटीकै सदस्यहरूको असन्तुष्टि थियो । त्यसलाई केन्द्रीय कमिटीले परिमार्जन
गरेको हो ।
बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्यले प्रतिनिधि संख्या संकुचन नगर्न माग गरेका थिए । उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरू हिक्मत कार्की र झपट रावलसहितका नेताले प्रतिनिधिहरूको संख्या बढाउनुपर्ने माग गरेका थिए । ०७१ को नवौं महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधि थिए । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले महाधिवेशन प्रतिनिधिको छनोटको मापदण्ड पनि तय गरेको जानकारी दिए । एमालेमा हाल ७ लाख २१ हजार पार्टी सदस्य रहेको जनाइएको छ ।

समाचार

ओली–रावल भनाभन

- कान्तिपुर संवाददाता

धमाधम महाधिवेशन केन्द्रित काम भए पनि एमालेमा एकपछि अर्को विवाद बल्झिरहेको छ । दसबुँदे सहमति कार्यान्वयनलाई लिएर शुक्रबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भनाभन नै भएको छ । पूर्वसमझदारीअनुरूप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष रावलले प्रश्न उठाएका थिए । एक नेताका अनुसार अध्यक्ष ओलीले सहमति कार्यान्वयन कार्यदलबाट रावलले राजीनामा दिइसकेकाले यस विषयमा असन्तुष्टि राख्नुको कुनै अर्थ नरहेको बताएका थिए । ‘रावलजीले पूर्वसहमतिअनुसार दसबुँदे सहमति कार्यान्वयन भएको छैन भनेर असन्तुष्टि राख्नुभयो । अध्यक्ष ओलीले हस्तक्षेप गर्नुभयो र काम गर्न सक्दिनँ भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताउनुभयो,’ एक केन्द्रीय सदस्यले भने ।
ओली र रावलबीच तनाव भएपछि स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले विवाद नचर्काउन आग्रह गरेका थिए । केन्द्रीय कमिटी सदस्यहरूले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउन सुझाव दिएका थिए । दसबुँदे सहमति कार्यान्वयनमा संस्थापन पक्ष इमान्दार नभएको भन्दै केही दिन अगाडि रावलले कार्यदलबाट राजीनामा गरेका थिए । केन्द्रीय कमिटीमा दुई सदस्य थपिएकामा समेत उपाध्यक्ष रावलले असन्तुष्टि जनाएका छन् । बैठकमा अध्यक्ष ओलीबाट हालै मनोनीत कुन्दन कुशवाह र मोहम्मद समीरले केन्द्रीय सदस्य पदको शपथ लिएका थिए । उनीहरू दुवै नेता प्रभु साहनिकट हुन् । यसअघि ओलीसँग लिखित माग राख्दै आएका साह शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भने सहभागी भए । उनी एमालेको केन्द्रीय कमिटी बैठकमा पहिलो पटक सहभागी भएका हुन् ।
बैठकमा केन्द्रीय सदस्य झपट रावलले विधिसम्मत नभएको संगठित सदस्यता वितरण रोक्न लिखित माग गरेको थिए । पार्टी अध्यक्ष ओलीलाई पत्र लेखेका उपमहासचिव भुसालले पनि दसबुँदे सहमति जस्ताको तस्तै लागू गर्न आग्रह गरिसकेका छन् । तर, शुक्रबार बैठकमा ओलीले यस्ता पत्रको जवाफ दिइरहनु नपर्ने बताएको एक नताले बताए । वडा र पालिका अधिवेशनमा आफूनिकट नेताहरूलाई पन्छाइएको दसबुँदे सहमति पक्षधर नेताहरूको दाबी छ ।

समाचार

कांग्रेसका १२ नेताको प्रश्न न्यायालय विवादमापार्टी किन मौन ?

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसभित्र ‘दबाब समूह’ का रूपमा परिचित १२ नेताले न्यायालयको नेतृत्वसँग सम्बन्धित विवादबारे मुख खोल्न पार्टीलाई दबाब दिएका छन् । उनीहरूले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी पछिल्लो समय न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधलाई सामान्य रूपमा लिन नमिल्ने बताएका छन् ।
केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । ‘यस्तो पेचिलो परिस्थितिमा पनि केही दल मौन छन् भने केहीले विगतमा न्यायालयले गरेको संविधानको रक्षाको प्रतिशोध साध्न खोजेका छन्,’ विज्ञप्तिमा छ, ‘यस अवस्थामा नेपाली कांग्रेस मूकदर्शक बन्न या घटनाक्रमलाई न्यायालयभित्रको विषय हो । उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ ?’
न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरणबिना न्यायपालिकाको स्वतन्त्रता सम्भव नहुने र न्यायपालिकाको स्वतन्त्रताबिना कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्रको संरक्षण नहुने विज्ञप्तिमा उल्लेख छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सिफारिसमा असोज २२ मा प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका जेठान बाँकेका गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेपछि न्यायालयको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ । यस प्रकरणले प्रधानन्यायाधीश जबराका साथै पार्टीको समेत नेतृत्व गरेका प्रधानमन्त्री देउवा पनि उत्तिकै दबाबमा छन् । तर देउवा र नेपाली कांग्रेस अहिलेसम्म मौन छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शेखर कोइरालाले भने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र त्यसका लागि प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले पहल गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
देउवा भने यस विषयमा मुख नखोलीकनै शुक्रबार एक साता लामो विदेश भ्रमणमा निस्केका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी पाएका विमलेन्द्र निधि पनि यस विषयमा बोल्न चाहँदैनन् । ‘अहिले म केही पनि बोल्दिनँ यस विषयमा,’ निधिले कान्तिपुरसँग भने । कांग्रेसले सोमबार पार्टीका तर्फबाट ‘न्यायालयलाई विवादमा नतान्न’ आग्रहसहितको विज्ञप्ति निकाल्ने प्रयास गरेको थियो तर सत्ता साझेदार दलको साझा धारणा सार्वजनिक गर्ने भन्दै सोही दिन साँझ बालुवाटारमा गठबन्धनको बैठक बस्यो । उक्त बैठकले पनि औपचारिक धारणा बाहिर ल्याउन सकेन ।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागबन्डा खोजेको आरोपलाई खण्डन गर्दै गठबन्धन दलबाटै विज्ञप्ति निकाल्दा झन् ठूलो घाटा हुने निष्कर्षसहित विज्ञप्ति रोकिएको थियो । शुक्रबार विज्ञप्ति प्रकाशित गर्नेमध्येका एक कांग्रेस युवा नेता चन्द्र भण्डारीले आफूहरूको प्रमुख सरोकार यस प्रकरणमा पार्टी मौन बस्नु हुँदैन भन्ने रहेको बताए । ‘पार्टीले के धारणा बनाउँछ भन्ने फरक पाटो हो तर निकास दिनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘विगतमा पनि हामीले दलभित्रका विशेष मुद्दा र राष्ट्रिय सरोकारका विषयमा यसैगरी आफ्नो धारणा राख्ने गरेका थियौं ।’
१२ नेताले अहिलेको अवस्थामा कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणका लागि भइरहेको लडाइँको पक्षमा उभिनुपर्ने धारणासमेत राखेका छन् । लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहार रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको मुख्य दायित्व भएको उनीहरूको भनाइ छ । ‘न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेरमात्र
पुग्दैन, संविधान, कानुन, नियत, अभ्यास, शैली र प्रक्रियामा गम्भीर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो छ,’ विज्ञप्तिमा छ ।

देउवा नआउँदासम्म छलफल नहुने
प्रधानमन्त्री देउवानिकट स्रोतले उनी विदेशबाट फर्केपछि प्रधानन्यायाधीशलाई निकास दिन लगाउने प्रयास हुने बताएको छ । ‘त्यसैले उहाँले विदेश जानुअघि यस विषयमा धेरै नबोल्न भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सायद फर्केपछि ठोस छलफल होला ।’
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रधानमन्त्री फर्केपछि मात्र दलहरूबीच यस विषयमा छलफल हुने बताए । ‘पार्टीभित्र अलग–अलग निर्णय गर्नुको खास अर्थ हुँदैन, त्यसैले हाम्रो पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्री कांग्रेसको सभापतिसमेत हुनुभएकाले उहाँ फर्केपछि मात्र बसाइ होला ।’
माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले न्यायालयभित्रको विवाद न्यायालयबाटै संवैधानिक रूपमा निरूपण हुनुपर्ने बताए । त्यहाँ समाधान हुन नसकेर संसद्मा आयो भने मात्र दलहरूले आफ्नो धारणासहित निर्णय गर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री विदेशबाट फर्किनुभयो भने पनि दलहरूबीच अनौपचारिक रूपमा छलफल हुन सक्ला,’ उनले भने, ‘न्यायालयलाई औपचारिक रूपमा यसो गर भनेर त भन्न सकिँदैन ।’ देउवानिकट कांग्रेस युवा नेता रामहरि खतिवडाले अदालतजस्तो संवेदनशील क्षेत्रमा
भएको विवादलाई लामो समयसम्म राख्न नहुनेमा कांग्रेस सचेत रहेको र सभापति स्वदेश फर्केपछि ठोस धारणा आउने बताए ।

समाचार

प्र्रधानमन्त्री र अमेरिकी विशेष दूतबीच भेट हुने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनका जलवायुसम्बन्धी विशेष दूत जोन केरीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । उनले स्कटल्यान्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा केरीसँग ‘साइडलाइन’ वार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार देउवा र केरीबीच द्विपक्षीय सम्बन्ध र जलवायु परिवर्तनले नेपालजस्तो मुलुकलाई पारेको असरबारे कुराकानी हुने तय भएको छ । नेपालले केरीसँग भेटवार्ताका लागि पठाएको प्रस्तावमा अमेरिकाले सहमति जनाएको हो । केरी अमेरिकाका पूर्वविदेशमन्त्री हुन् । देउवा र केरीबीच कात्तिक १५ वा १६ गते भेट हुनेछ । प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ । देउवा लन्डन हुँदै स्कटल्यान्ड पुग्नेछन् ।
यही भ्रमणका दौरान देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । कात्तिक १५ मा देउवा र मोदीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले बताएको छ । देउवाले भ्रमणको साइडलाइनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र बंगलादेशलगायत अन्य मुलुकका सरकार प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ‘को–कोसँग भेट हुन्छ भनेर अहिल्यै भन्न गाह्रो हुन्छ किनकि साइडलाइन वार्ताहरू कुनै नयाँ हुन सक्छन् र कुनै तय भएका पनि नहुन सक्छन् । त्यसैले भेटवार्ताका कार्यक्रम यिनै हुन् भनेर जानकारी दिने अवस्था छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् ।
कात्तिक १३ गते प्रधानमन्त्री देउवाले लन्डनमा ‘अल–पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल’ तथा ‘यूके–नेपाल ट्रेड र इन्भेस्टमेन्ट फोरम’ को आयोजनामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । साथै, सोही दिन प्रधानमन्त्री देउवाले बेलायत–नेपाल सोसाइटी, गैरआवासीय नेपाली संगठन र त्यहाँ रहेका नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कात्तिक १४ मा देउवालाई बेलायतस्थित नेपाली दूतावासले रात्रिभोजको आयोजना गर्नेछ । उक्त अवसरमा प्रधानमन्त्री देउवाले गोर्खाका भेट्रानका संस्था, ब्रिटिस संसद्का सांसद र त्यहाँ बस्दै आएका नेपालीसँग भेटवार्ता गर्नेछन् ।
कात्तिक १५ मा प्रधानमन्त्री देउवाले कोप–२६ को उद्घाटन समारोहमा भाग लिनेछन् ।

Page 4
वाग्मती प्रदेश

चुनौतीको चाङमाझ पाण्डेको सत्तारोहण

- सुवास बिडारी

(मकवानपुर) - अनेक रस्साकसीपछि मुख्यमन्त्री बन्न सफल राजेन्द्र पाण्डे बिहीबार शपथ ग्रहण समारोहमा केही हतारिएका देखिन्थे । प्रदेश प्रमुखले उच्चारण गर्नुअघि नै पाण्डेले शपथ ग्रहणका शब्दहरू पढिरहेका थिए । मुख्यमन्त्री बन्नैका लागि संघीय राजनीतिबाट प्रदेशमा आएका पाण्डेलाई सत्तारोहण गर्न ४२ महिना कुर्नुपर्‍यो । जसका कारण पनि उनी हतारोमा हुन सक्छन् । एमालेबाट निर्वाचित भएर प्रदेशसभा सदस्य बनेका उनी पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेपछि मुख्यमन्त्री बन्ने मौका सिर्जना भएको हो ।
एकल बहुमत रहेको एमाले प्रदेशसभामा अल्पमतमा परेसँगै गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जसपातर्फबाट उनी मुख्यमन्त्री बनेका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार उनको कार्यकाल आगामी जेठसम्म मात्र हो । त्यस अवधिमा उनीसामु थुप्रै चुनौतीलाई पन्छाउनुपर्ने जिम्मेवारी छ ।
तीन पटकसम्म प्रतिनिधिसभा सदस्य निर्वाचित उनीसँग स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको अनुभव छ । प्रदेशसभामा उनले अघिल्लो सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम र विधेयकमा सधैं खोट औंल्याउँदै आलोचनात्मक समर्थन गर्थे । अब उनी एक खुड्किलो माथि पुगेका छन् । सदनमा सरकारलाई सधैं काम गर्न सिकाउने उनले आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्छन् त्यो भविष्यले बताउनेछ ।
मुख्यमन्त्री भएको मितिले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने चुनौती उनीसामु छ । उनले हालकै अवस्थामा सदनबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । प्रदेशसभामा गठबन्धनसँग ५९ मत छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा भएको छलफलअनुसार उनले कात्तिक २२ मा विश्वासको मत लिने सम्भावना छ । विश्वासको मत लिएसँगै उनका अघिको अर्को चुनौती मन्त्रिपरिषद् विस्तार हो । सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ ।
पहिलो चरणमा उनले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । तर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा अझैसम्म कुन दलले कुन र कतिवटा मन्त्रालय लिने टुंगो लागिसकेको छैन । गठबन्धनभित्रको औपचारिक–अनौपचारिक छलफलमा मन्त्रालय बाँडफाँटलाई लिएर व्यापक मतभेद सिर्जना भइरहेको देखिन्छ । गठबन्धन दललाई खुसी बनाएर यो विषय टुंग्याउनु र आफ्नो कार्यकालमा जनताले सम्झनलायक काम गर्नु उनका लागि सबैभन्दा ठूलो चुनौती हो ।
अघिल्लो सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रम सदनबाट बहुमतले पारित भएका कारण यो सरकारले पूरक बजेट ल्याउन सक्दैन । हालकै बजेटलाई कार्यान्वयन गर्दै अबन्डा रकमलाई गठबन्धनको भावनाअनुसार वितरण गर्नुपर्ने बाध्यता उनीसामु छ । सरकारमा प्रतिनिधित्व गरेका दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन प्रयास गरिरहेका छन् । ‘न्यूनतम साझा कार्यक्रम जारी गरेर सरकार अगाडि बढ्छ,’ कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले भने ।
प्रदेश सरकार स्थापनाको समयमा ९९ वटा कानुन निर्माण गर्नुपर्ने औंल्याइएको थियो । हालसम्म ६१ कानुन प्रदेश सरकारले निर्माण गरिसकेको छ । बाँकी साझा अधिकार सूचीका कानुन निर्माणका लागि संघीय सरकारमा निर्भर रहन्छ  । संघ र प्रदेशबीच तालमेल नहुँदा अघिल्ला दुवै सरकारले कानुन बनाउन समस्या भोग्नुपरेको थियो । कानुन निर्माणलाई गति दिन प्रदेश सरकार असफल भएको आरोप कांग्रेसले निरन्तर लगाउँदै आइरहेको थियो । प्रदेश सरकार स्थापना भएदेखि प्रतिपक्षमा रहेको कांग्रेस अहिले सत्तापक्ष भएको छ । यस्तोमा प्रहरी, यातायात ऐन र गुठी विधेयकमा केन्द्रले गरेको हस्तक्षेपलाई कांग्रेसले कसरी सामना गर्छ, त्यसमा पनि पाण्डे सरकारको सफलतालाई नाप्ने आधार बन्नेछ ।
प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावली समिति सभापति भएका मुख्यमन्त्री पाण्डे कानुन निर्माणको विषयमा पोख्त छन् । प्रदेशसभामा राम्रोसँग विधेयकमाथि छलफल नभएको एक वर्षभन्दा बढी भइसक्यो । एमाले–माओवादी केन्द्र पुनः आफ्नो अस्तित्वमा आएदेखि सदन बिजनेसविहीन जस्तै छ । अब सदन र संसदीय समितिलाई चलायमान बनाउनु उनको सरकारको अर्को दायित्व छ । हाल सांसदको काम नयाँ सरकार बनाउन सदनमा उपस्थित हुनु मात्र जस्तो भएको छ ।
‘हाम्रो कार्यकालमा प्रदेशमा बन्न बाँकी सबै ऐन, नियम र कार्यविधि निर्माण सम्पन्न गर्नेछौं । केन्द्रसँगको मतभेद निरन्तर संवादबाट हटाउन प्रयास गनेर्छौं,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री खनालले भने । उनले वर्तमान सरकारसँग थोरै चुनौती र धेरै अवसर रहेको बताए । ‘अघिल्लो सरकारले बिराएको बाटोलाई हामी सही ट्र्याकमा ल्याउनेछौं । विकास निर्माणको मात्र होइन । कानुन निर्माण, सुशासन र पारदर्शितालाई प्राथमिकता दिएर काम गर्नेछौं,’ उनले भने । जनताले आगामी निर्वाचनमा मत माग्न जाँदा प्रश्न गर्न नसक्ने गरी काम गर्नुपर्ने चुनौती वर्तमान सरकारसँग रहेको उनको भनाइ छ । कांग्र्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ बजेट ल्याउने गरी सत्तामा जाने प्रतीक्षामा बसिरहेको अवस्थामा पाण्डेले सहजै सत्ता हस्तान्तरण गर्छन् कि गर्दैनन्, त्यो पनि पर्खाइको विषय हुनेछ ।

वाग्मती प्रदेश

सिर्जनाको ‘क्याफे फ्युजन’

- सुशीला तामाङ

(काठमाडौं) - संगीत, साहित्य जस्ता कला क्षेत्रले आममानिसको पहुँच पहिल्याए पनि चित्रकला विधा अझै पनि ग्यालरीका प्रदर्शनीहरूमै सीमित छ । कलाकर्मीहरू अब भने आफ्ना सिर्जनालाई ग्यालरीका भित्ताबाट आमजनमानसमाझ ल्याउन प्रयास गर्दै छन् । यसका लागि सिर्जनाका विभिन्न विधालाई जोड्दै काम गर्न थालेका छन् ।
बखुन्टोलस्थित ‘अबिर डिजाइनर्स हब’ ले फाइन आर्ट सेन्टर नेपालको सहकार्यमा केही नौलो काम थालेको छ । प्रमिला बज्राचार्यको दुई दर्जनभन्दा बढी चित्रकलाहरूका साथ बिहीबारदेखि सुरु गरिएको प्रदर्शनीमा दर्शकहरूले कलासँगै खानाको स्वाद तथा लत्ताकपडा अवलोकन र खरिद गर्न सक्छन् । वज्राचार्यसँगै प्रदर्शनी समूहमा बिनी वज्राचार्य, सुरित शाक्य, रितिका शाक्य, अमन शाक्य र प्रितिका शाक्य सहभागी छन् । सुरितको अवधारणाअनुसार सुरु गरिएको प्रदर्शनीमा खानातर्फ क्याफेको जिम्मा उनैले लिएका छन् भने कपडाका लागि बुटिकतर्फ बिनी छिन् ।
प्रदर्शनीमा सहभागी स्वदेशी तथा विदेशी दर्शकहरूले बिहीबार क्याफेमा कफीको स्वादसँगै प्रमिलाका महिला आकृति, अभिव्यक्ति तथा जीवन संघर्षका कथाहरू चित्रण गरिएका चित्रहरू अवलोकन गरे । विभिन्न डिजाइनका पहिरनहरूसमेत हेर्ने मौका पाए । प्रदर्शनीलाई एक उत्सवका रूपमा प्रस्तुत गरिएको आयोजक समूहको भनाइ छ । ‘चित्रकलाहरू प्रायःजसो ग्यालरीहरूमा नै प्रदर्शन गरिन्थ्यो,’ प्रमिला भन्छिन्, ‘कलालाई बाहिर ल्याएर आममानिसलाई यसबारे बुझाउनुपर्छ भन्ने कन्सेप्टअनुसार नै कोलाब्रेसनको काम गरिएको हो ।’
हाम्रो जीवनशैली, समाज, परम्परा तथा संस्कृतिका हरेक पाटाहरूमा कलानिहित छ । खाना, पहिरनका आकार, प्रकार तथा रङहरूमा कलाको संयोजन छ । यी तीनैलाई उत्सवका रूपमा कलामय बनाऔं भन्ने हेतुले अवधारणा बनाइएको सुरितले सुनाए । यसले कला क्षेत्रलाई सोच्ने आममानिसको सोचाइमा केही परिवर्तन ल्याउने उनको भनाइ छ । सुरितको भनाइलाई समर्थन गर्दै बिनी थप्छिन्, ‘बुटिकमा मन पर्ने कपडा लिन आउने ग्राहकले खानासँगै आर्टबारे बुझ्न सक्छन् र मन परे कलाकृति पनि किन्न सक्छन् । तीनै चिज एकैठाउँमा उपलब्ध भए अवलोकनमा आउनेलाई बेग्लै आनन्द दिन सक्छ ।’
ग्यालरी प्रदर्शनीको सीमा तोडेर कलालाई बाहिर ल्याउन क्याफेका भित्ताहरूमा कलाकृति झुन्ड्याउने प्रचलन ≈वात्तै बढेको छ । राजधानीका थुप्रै क्याफेमा खानासँगै संगीतको धुन र चित्रकला अवलोनकका लागि समेत व्यवस्था गर्ने चलन बढेको छ । क्याफेहरूमा चित्रकारहरूले औपचारिक रूपमा नै कला प्रदर्शनीको समेत थालनी गरिसकेका छन् । तर कपडासँग पनि कलालाई जोडेर प्रदर्शनी गरिएको यो नौलो प्रदर्शनी रहेको प्रमिला सुनाउँछिन् । जुन उनको चित्रकला प्रदर्शनीलाई उनले ‘पप अप एक्जाबिसन’ को नाम दिएकी छन् ।
पश्चिमा मुलुकमा यस्ताखाले कला प्रदर्शनी नौलो होइन । अमेरिकालगायतका युरोपेली मुलुकहरूमा यस्ता प्रदर्शनीहरू गरिन्छन् । यस्ताखाले प्रदर्शनीहरूमा ग्यालरी तथा संग्रहालयमा औपचारिक घेराभन्दा बाहिर ल्याएर अन्य विषयवस्तु, प्रदर्शनी, जमघटमा कलाको व्याख्या, विश्लेषण र अवधारणाहरू स्थापित गराउने प्रयास गरिन्छ । यसलाई अस्थायी कला उत्सवका रूपमा समेत लिइन्छ । सहभागीहरूले नौलो अनुभवका साथ यसमा कलासँगै अन्य सामाजिक विषयमा समेत छलफल तथा कुराकानी गर्न सक्छन् । अमेरिकामा सन् २००७ तिर सुरु भएको ‘पप अप एक्जाबिसन’ को अवधारणा अहिले विश्वमा नै कला क्षेत्रमा अभ्यासमा छन् । नेपालमा यस्तो प्रयास कमै देखिएको प्रमिलाको भनाइ छ । ‘अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा जाँदा पप अप एक्जाबिसनहरू थुप्रै देखेको छु । कला प्रदर्शनीसँगै अन्य विभिन्न वस्तुहरू, मानिसहरूको चहलपहल, कुराकानीको माहोल नै बेग्लै हुन्छ,’ उनी भन्छिन्, ‘हाम्रोमा ग्यालरीभन्दा बाहेक कलालाई जोडेर गरिने त्यस्तो माहोल अझै बनेको छैन ।’

Page 5
समाचार

कोरोनाजस्तै लक्षणका बिरामी घरघरमै

- सन्जु पौडेल,दुर्गालाल केसी

(लुम्बिनी/दाङ) - दसैंका बेला ज्वरो आयो, टाउको र आँखा दुख्न थाल्यो । शरीर फतक्क गल्ने र खान मन नलाग्ने भयो । रूपन्देहीको सिद्धार्थनगरकी कविता शर्माले विस्तारै गन्ध र स्वाद थाहा पाउन छाडिन् । दुई साताभन्दा लामो समय यस्तो भएपछि उनले आफूलाई कोरोना संक्रमणको आशंका गरिन् । सतर्कता अपनाइन् तर जचाउन भने गइनन् । परिवारका अरू सदस्यलाई पनि त्यस्तै भयो । कोरोनाविरुद्धका खोपको दुवै मात्रा पूरा गरेकाले संक्रमणले नगलाउने आत्मविश्वास थियो । उनीसँगै परिवारका सबै निको भए । थकान भने अझै महसुस भइरहेको शर्माले बताइन् । ‘खोपले काम गरेको हो कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘लक्षण कोरोनासित मिल्दोजुल्दो थियो, घरमै आराम गरियो, निको भयो ।’
बुटवल–११ की शर्मिला पाण्डेयले लामो समय ज्वरो आएर रुघा लागे पनि कोरोना जाँच गराइनन् । नजिकैको मेडिकलमा जाँच्दा उनलाई निमोनियाको संकेत देखियो । एक्सरे गराएपछि निमोनिया प्रमाणित भयो । घरमै सुप, आयुर्वेदिक र निमोनियाको औषधि खाएपछि सन्चो हुँदै गएको उनले बताइन् । गत भदौमा बिरामी परेकी उनी अहिले पनि पूर्ण स्वस्थ भने भइसकेकी छैनन् । औषधि सेवन गर्दै रहेकी उनले कोरोना जाँचेको भए निश्चित नै पोजिटिभ आउने गरी बिरामी परेको बताइन् । ‘चाडबाड आएका बेला परीक्षण गर्न मन लागेन,’ उनले भनिन्, ‘निमोनिया भइसकेको रहेछ, अहिलेसम्म पनि हल्का घ्यारघ्यार छ, औषधि खाइरहेकी छु ।’ मेडिकल सञ्चालकले पनि कोरोना जाँचको सल्लाह नदिएको भन्दै उनले सुरुमा निमोनिया भएकाले असर नगरेको हुन सक्ने बताइन् । स्वास्थ्यमा आवश्यकताअनुसार रेखदेख गरिरहेको उनको भनाइ छ । भारतमा अध्ययन पूरा गरेर घर फर्किएका तिलोत्तमा–५ का दीपक पाण्डे १५ दिनसम्म थला परे । भारतमा खोपको दुवै मात्रा नै लगाउन पाएका उनले गन्ध र स्वाद नपाए पनि सुरुमा अन्य लक्षण भने थाहा पाएनन् । १० दिन कटेपछि ज्वरोले थलिए । स्थानीय मेडिकलबाट ज्वरोको औषधि किनेर खाए । स्वाद आउने छाँट नै नभएपछि उनलाई कोरोना भएको हुन सक्ने अनुभव भयो । ज्यान दुखाइ र ज्वरोसँगै स्वाद नभएपछि उनले आराम गरे । १५ दिनपछि उनी निको हुँदै गए । ‘जाँच गर्न जानै मन लागेन,’ उनले भने, ‘खोप लगाएको थिएँ, कोरोना होइन कि जस्तो लाग्यो ।’ तर कोरोनाबारे पढ्दा आफ्नो मुख्य लक्षण स्वाद नपाएकाले कोरोना नै भएको हो कि भन्ने लागेको उनले बताए ।
यी केही उदाहरण हुन् । रूपन्देहीमा पछिल्लो पटक परीक्षणको दायरा घट्दै जाँदा संक्रमण पुष्टि हुने लक्षण देखिएका बिरामी पनि घरघरमै बसी उपचार गर्ने र विस्तारै निको हुने गरेका छन् । अस्पतालमा संक्रमित संख्या घटिहालेको नभए पनि पहिलेजस्तो हाउगुजी गरिहाल्नुपर्ने स्थिति भने नरहेको चिकित्सक बताउँछन् । खोप लगाएका मानिसले परीक्षण नै नगरी समाजमा घुलमिल भइदिँदा उनीहरूलाई समस्या नपरे पनि सार्ने सम्भावना धेरै रहने लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । यस्ता लक्षण भएकाले अनिवार्य जाँच गराई आइसोलेटेड हुनुपर्ने उनको भनाइ छ । चाडबाडका बेला आफन्तजनसँगको जमघटमा रमाएकाले मास्क र दूरी कायम नगर्ने परिपाटीले पुनः संक्रमण बढ्ने संकेत देखिएको उनले बताए । ‘तथ्यांक स्थिर रहेकाले मानिस निष्फिक्री बिनास्वास्थ्य मापदण्ड हिँडिरहेका छन्,’
उनले भने, ‘यसले वृद्धवृद्धा र कुनै अन्य रोग भएकाहरूलाई असर गर्न सक्छ ।’ नागरिकको लापरबाहीले नै संक्रमण बढ्ने वा घट्ने कुरा निश्चित हुने उनी बताउँछन् । अहिले नयाँ भेरियन्ट आइनसकेको भए पनि विश्वमा फैलिएको महामारी भएकाले कतिबेला यो बढ्छ र फैलन्छ भन्ने थाहा नहुने र यसले केही हानि गर्दैन भनेर ढुक्क हुने अवस्था नरहेको थापाले बताए ।
गम्भीर बिरामी घट्दै
दाङको घोराही–३ की लक्ष्मी चौधरी एक सातासम्म बिरामी परिन् । रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्याबाट पीडित चौधरीले यसलाई मौसमी ज्वरोका रूपमा लिइन् । कोरोना जाँच गराइनन् । विस्तारै उनलाई ठीक भयो । दंगीशरण–२ का लालबहादुर नेपाली पनि लामो समय बिरामी परे । उनले शंका लागेर कोरोना जाँच गराए तर रिपोर्ट नेगेटिभ आयो । ‘लक्षण उस्तै भए पनि कोरोना देखिएन तर एक साता बिरामी परियो,’ उनले भने, ‘गाउँमा यस्ता बिरामी धेरै छन् । कोरोना जाँच त कसैले पनि गर्दैनन् ।’ मानिसहरू बिरामी परे पनि यसलाई गम्भीर रूपमा लिन छाडिएको छ ।
कोरोना विशेष अस्पतालमा पनि बिरामीहरू घट्दै गएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । ‘अहिले अस्पतालमा दुई जना मात्रै बिरामी छन् । दिनदिनै बिरामी घट्दै गएका छन्,’ उनले भने, ‘कोरोनाका बिरामी घट्दै गएका छन् । खोप लगाएका कारण पनि यसको असर कम देखिएको छ ।’ कुनै बेला दैनिक सयौं बिरामी हुने अस्पताल अहिले खालीखाली भएको वलीले बताए । मानिसहरूमा लापरबाही बढे पनि कोरोनाका बिरामीको संख्या घट्दो क्रममा नै रहेको उनले बताए । ‘पहिले जस्तो मानिसहरूमा डर त्रास छैन । बजारमा भीडभाड बढेको छ । स्वास्थ्य सुरक्षा मापदण्डमा लापरबाही छ,’ उनले भने, ‘पहिलेजस्तो गम्भीर समस्या भने देखिएका छैनन् ।’
अहिले कोरोनाका बिरामीका लागि आवश्यक सबै संरचना तयार भए पनि बिरामीको संख्या भने घटिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘अहिले अस्पतालमा बालबालिकाका लागि एनआईसीयू बेडसमेत तयार छन् । अक्सिजन प्लान्टहरू जडान भएका छन्,’ उनले भने, ‘कोरोनाका बिरामी भने घट्दै गएका छन् । अहिले गम्भीर समस्या छैन ।’ अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या तीनमात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए । ‘बिहीबार कोरोनाका बिरामीको संख्या शून्य थियो । शुक्रबार तीन जना बिरामी देखिएका छन्,’ उनले भने, ‘बिरामी भएर समस्या भएपछि जाँच गर्न आइहाल्छन् । अहिले त्यस्तो समस्या देखिँदैन ।’ गाउँगाउँमा बिरामी भएको सुनिए पनि जाँच गर्दा कोरोना पोजिटिभ देखिने संख्या निकै कम रहेको उनले बताए । ‘जाँच गरेकामध्ये पनि कोरोना पोजिटिभ संख्या कम नै छ,’ उनले भने, ‘त्यसकारण कोरोनाको प्रकोप नै भएजस्तो देखिँदैन ।’

समाचार

बालबालिकालाई खोप दुई महिनाभित्रै !

- अतुल मिश्र

(काठमाडौं) - बालबालिकाका लागि कोभिड–१९ विरुद्घको खोप दुई महिनाभित्र लगाउन सुरु गर्ने सरकारले दाबी गरेको छ । हाल खरिद प्रक्रियामा रहेको फाइजरको ६० लाख डोज खोप डिसेम्बरदेखि मार्चभित्र आउन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । कोभाक्स सुविधामार्फत ‘कस्ट सेयरिङ’ अन्तर्गत खरिद गरिने ४० लाख डोज मोडर्ना पनि मार्चभित्र आउने सरकारी दाबी छ । औषधि व्यवस्था विभागले शून्यभन्दा तलको तापक्रममा भण्डारण गर्न सकिने फाइजरलाई ५२ दिनअघि र मोडर्नालाई ४५ दिनअघि आकस्मिक उपयोगका लागि अनुमति प्रदान गरिसकेको छ ।
‘ठ्याक्कै मिति नतोकिए पनि नोभेम्बर–डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म फाइजर र मोडर्नाको सबै खोप भित्रिने अपेक्षा गरिएको छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्राडा आरपी बिच्छाले भने, ‘कुनै असामान्य घटना नभए डिसेम्बरको अन्त वा नयाँ वर्षदेखि अप्रिलको अन्त्यसम्म १२ देखि १७ वर्षका करिब ३५ लाखलाई खोप लगाइनेछ ।’ सरकारी तथ्यांकअनुसार मुलुकभर उक्त उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना छन् ।
हाल शून्यभन्दा कम ६० देखि ९० डिग्री सेल्सियस ‘अल्ट्रा लो टेम्परेचर स्टोरेज’ क्षमता भएको फ्रिजमा करिब १ लाख डोज फाइजरको खोप राख्न मिल्ने गरी ४ वटा फ्रिज खोप शाखासँग छ । खोप लगाउने बेलामा भने यसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राखिन्छ । गाभीका अनुसार नखोलिएको खोपको भाइललाई २ देखि ८ डिग्री तापक्रमको सामान्य रेफ्रिजेरेटरमा ५ दिनसम्म राख्न सकिन्छ । मोडर्ना खोप शून्यभन्दा कम २५ डिग्री सेल्सियस तल्लो तापक्रममा राखिने भएकाले त्यति समस्या नभए पनि हाल शून्यभन्दा तल्लो तापक्रममा खोप राख्न मिल्ने फ्रिज पथलैयामा आएको मन्त्रालयका सहप्रवक्ता दाहालले जानकारी दिए ।
अत्यन्त न्यून तापक्रममा राख्नुपर्ने मोडर्ना र फाइजरको खोप एकैपटक नल्याई आवश्यकताअनुसार क्रमशः आपूर्ति हुने भएकाले भण्डारणमा खासै समस्या नहुने सरकारको भनाइ छ । डिसेम्बरसम्म एकदेखि दुई लाख डोज आउन सक्ने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए । ‘मोडर्ना आएको दुई साताभित्र बालबालिकालाई लगाउन सकिन्छ,’ उनले भने ।
१२ वर्षभन्दा माथि उमेर समूहमा कोभिड रोकथाम गर्न फाइजर खोप प्रभावकारी छ । यो खोप लिएको दुईदेखि तीन सातापछि कोभिडविरुद्घ शरीरमा सुरक्षा उत्पन्न हुन थाल्छ । फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । यो खोपमा कुनै जीवित भाइरस हुँदैन । मोडर्ना खोप भने ४–६ साताको अन्तरालमा दुई डोज लगाउनुपर्छ । यसमा पनि कोभिडको जीवित भाइरस हुँदैन ।
दुई वर्षमाथिकालाई खोप ल्याउने तयारी
सरकारले दुई वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने खोपसमेत ल्याउने तयारी थालेको छ । यस्ता खोपमध्ये दुईदेखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने भारतको कोभाक्सिन खोपलाई उच्च प्राथमिकतामा राखिएको छ । ‘२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि उपयोग गर्न सकिने धेरै खोप हाल ट्रायल फेजमा छन्,’ डा. बिच्छाले भने, ‘भविष्यमा २ वर्षमाथिका बालबालिकाको खोपका लागि पनि सोचेका छौं ।’ विज्ञहरूका अनुसार भारतमा बनेको कोभाक्सिन खोपलाई २ वर्षमाथि उमेर समूहका लागि उपयोग गर्नका लागि मान्यता प्रदान गर्न विश्व स्वास्थ्य संगठनमा निवेदनसमेत दिइएको छ ।
यस्तै, फाइजरलाई ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका लागि समेत उपयोग गर्न अमेरिकास्थित एफडीएले मान्यता दिएको छ । त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पनि मान्यता दिए मात्र यो प्रयोगमा ल्याउन मिल्छ । ‘भारतको कोभाक्सिन खोपले २ वर्षमाथिका बालबालिकामा उपयोग गर्ने अनुमति जनवरी–फेब्रुअरीमा पाउन सक्ने सम्भावना छ,’ डा. बिच्छा भन्छन्, ‘यो खोप हाम्रो पहिलो प्राथमिकतामा रहन्छ ।’ खोप शाखाको तथ्यांकअनुसार मुलुकमा २ देखि ११ वर्ष उमेर समूहका ५८ लाख १६ हजार ६ सय ३६ जना छन् ।

 

समाचार

बोक्सा आरोपमा मलमूत्र खुवाएर कुटपिट

- कान्तिपुर संवाददाता

महोत्तरी (कास)– महोत्तरीको औरही नगरपालिका–९ अगल्सेराका एक पुरुषलाई बोक्सा आरोपमा छिमेकीले मलमूत्र खुवाएर कुटपिट गरेका छन् । बिहीबार राति ५० वर्षीय झपसी ठाकुरमाथि कुटपिट भएको हो । ४० वर्षीया रामशीलादेवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, रामशीलाका नातेदार ३५ वर्षीया दुखिया देवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले ठाकुरलाई निर्घात कुटपिट गरेर मलमूत्र खुवाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए ।
टुनामुना गरेर बोक्सो लगाएपछि पतिको मृत्यु भएको र छोरा रामउदेश मोटरसाइकल दुर्घटनामा परी घाइते भएको रामशीलाको आरोप छ । नियमित मदिरा सेवन गर्ने ५० वर्षीय कलेवर मण्डलको दसैंको सप्तमीका दिन मृत्यु भएको थियो । छोरा रामउदेश भने बिहीबार दिउँसो मोटरसाइकलमा गइरहेका बेला कुकुर दौडिँदै आएपछि लडेका थिए । अत्यधिक मदिरा सेवन गर्ने कलेवर र झपसी ठाकुर सँगै हिँड्ने, खाने साथी थिए ।
‘रामशीलासहित उनका आफन्तले कुटपिट गरी गिलासमा मलमूत्र घोलेर जबर्जस्ती खुवाए,’ पीडित ठाकुरले भने, ‘लट्ठी र हँसियाले हानेर घाउ भएको छ ।’ आँखानजिक र शरीरका अन्य भागमा चोट लागेका ठाकुरको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठाकुरलाई जोगाउन खोज्दा उनी भाउजू सुनैनादेवीमाथि समेत कुटपिट भएको स्थानीयले बताएका छन् । रामशीलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य ३ जना फरार छन् ।
बोक्सी आरोपमा गत असोज २७ गते महोत्तरी गाउँपालिका–३ मडैमा ४२ वर्षीया शिलादेवी झालाई हथौडा प्रहार गरी ४२ वर्षीय देवर सञ्जयकुमार झाले हत्या गरेका थिए । उनी पक्राउ परेका छन् । सोही दिन जलेश्वर नगरपालिका–४ सुगाकी ४२ वर्षीया चुकमरिया देवीलाई गाउँलेले कुटपिट गरेर मलमूत्र खुवाएका थिए । सोही ठाउँका सिकिन्दर महतोकी १३ वर्षीया छोरी काजल चुकमरियालाई देख्नेबित्तिकै रोएको भन्दै बोक्सी आरोपमा उनीमाथि दुर्व्यवहार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

समाचार

चितवन कांग्रेससँग दाहालको चित्त दुखाइ

- रमेशकुमार पौडेल

(चितवन) - संसद्को आउँदो चुनावमा चितवनबाटै प्रतिस्पर्धा गर्ने बताएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनकै सहयात्री
दल कांग्रेसको जिल्ला नेतृत्वप्रति चित्त दुखाइ गरेका छन् ।
दाहाल २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर चितवन–३ बाट विजयी भएका हुन् । त्यसअघि भएको स्थानीय निर्वाचनमा उनकै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँगको तालमेलमा छोरी रेणु दाहाल विजयी भएकी थिइन् । अहिलेको सत्तारूढ गठबन्धन चुनावसम्मै कायम रहने दाहालको भनाइ छ । तर, चितवन कांग्रेसको नेतृत्वले यो विषयमा फरक मत राखेको छ ।
केही दिनअघि भएको एक कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पुष्पकमल दाहाल र रेणु दाहालप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो निर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाताले रूखबाहेकका चिह्नमा मत हाल्नुपर्ने अवस्था आउन नदिने बताउने गरेका छन् । कांग्रेसका नेताहरूबाट चितवनमा व्यक्त हुन थालेको यो अभिव्यक्ति उचित नभएको दाहालले बताए । ‘मैले त सोच्थें कमसेकम चितवनका नेता–कार्यकर्ताहरू खुसी भए होलान्, उनीहरूले मलाई, माओवादीलाई धन्यवाद भन्लान्, अब हामी राम्रैसँग मिलेर जान्छम् भन्लान् भन्ने ठानेको त प्रचण्डलाई, रेणुलाई खेद्नुपर्छ भनेर यहाँका सभापतिहरूले बोले,’ उनले भने ।
केपी ओली प्रवृत्ति अन्त्य गरी संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न गठबन्धन बनेको उनले बताए । चितवन कांग्रेस नेतृत्वले आफ्नो वर्ग स्वार्थअनुरूप बोलेको र यो लडाइँ पनि आफूले हेर्ने दाहालले बताए । आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र हुने उनको भनाइ थियो । भरतपुरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा दाहालले भने, ‘चुनाव आउँदै छ र यो चुनाव आउँछ, जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदै छ । महाभारत हुँदै छ ।’ कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले अपिल पनि गरे ।
राष्ट्रिय महाधिवेशन चितवनमा सारेर केपी ओलीले आफूलाई प्रहार गर्न खोजेको उनले बताए । ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ, चुनाव लड्न बर्दिया जान्छ कि कालीकोट जान्छ भनेर काठमाडौंमा भनियो । म चितवन छोड्दिनँ, म भाग्ने मान्छे हुँदै होइन,’ उनले भने ।

समाचार

छोराछोरीकै अघि ‘सामूहिक बलात्कार’

- कान्तिपुर संवाददाता


म्याग्दी (कास)– बेनी–५ की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत भएको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको ती महिलाको भनाइ छ । आरोपित तीनै युवक फरार छन् ।
पीडित महिलाका अनुसार राति स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै बोलाए । उनले ढोका खोलिनन् । एक्कासि झ्याल फोडेर भित्र पसे । मदिराले लट्ठ ती युवकले छोराछोरीलाई कुटपिट गरे । ‘छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्,’ उनले सुनाइन्, ‘मलाई अँठ्याएर पालैपालो बलात्कार गरे । होहल्ला गरे घरसँगै सबैलाई जलाएर मार्ने धम्की दिए ।’
घटनालगत्तै प्रहरीलाई खबर गरे पनि नआएको उनको भनाइ छ । बलात्कारमा संलग्न प्रवेश र प्रकाश दसैं मान्न सहरबाट गाउँ फर्किएका थिए । पीडित महिलाका श्रीमान् विदेशमा छन् । घटना सार्वजनिक भएपछि आरोपित बानियाँका बुबासहित अन्यले १ लाख रुपैयाँ दिएर घटना गुपचुप राख्न दबाब दिएको पीडित महिलाले बताइन् । विभिन्न प्रलोभन, डर, धाक, धम्की दिइए पनि पर्सिपल्ट कात्तिक ४ मा ती महिलाले जिल्ला प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । त्यतिबेलासम्म घटनामा संलग्न तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेका थिए ।
जाहेरी परेको एक साताभन्दा बढी भइसक्दासमेत प्रहरीले आरोपितको खोजीमा चासो नदिएको पीडित महिलाको आरोप छ । ‘सयौं दबाब र प्रलोभन झेल्दै किटानी जाहेरी दिएकी हुँ,’ पीडित महिलाले भनिन्, ‘अहिले पनि बयान फेर्न दबाब आइरहेको छ ।’ गाउँ फर्केर जान सक्ने अवस्था नरहेकाले उनलाई बेनीस्थित हिंसापीडित आश्रममा राखिएको छ । जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईले फरार आरोपितको खोजी भइरहेको बताए । ‘पीडित पक्षलाई दबाब आइरहेको भन्ने सुनेका छौं,’ उनले भने, ‘बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन दिन्नौं ।’

 

Page 6
समाचार

बझाङलाई विपद्ग्रस्त घोषणा माग

- कान्तिपुर संवाददाता


बझाङ (कास)– बेमौसमी वर्षाका कारण बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्था बुझ्न संघीय संसद्को विकास तथा प्रविधि समितिको टोली बझाङ पुगेको छ । समिति सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले शुक्रबार सदरमुकाम चैनपुरका अन्तर्क्रिया गर्दै जिल्लावासीसँग सुझाव मागेको थियो । सहभागीले बझाङलाई निरन्तर बाढीपहिरोले तहसनहस पारेकाले विपद्ग्रस्त जिल्ला घोषणा गरिनुपर्ने माग गरे ।
कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीपहिरोले बझाङमा १२ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता छन् । ४ सयभन्दा बढी घर भत्किएका छन भने ८ सय ८६ परिवार विस्थापित छन् । जयपृथ्वी राजमार्गसहित सबैजसो ग्रामीण सडक ठप्प छन् भने विद्युत् अवरुद्ध छ । सदरमुकाम चैनपुरबाहेक जिल्लामा अन्त बिजुली छैन । २ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको प्रारम्भिक अनुमान छ । विपद्को १२ दिन बितिसक्दा पनि क्षतिको पूर्ण विवरण अझै तयार भइसकेको छैन ।
सेनाको हेलिकोप्टरमा आएको समितिको टोलीलाई प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाको क्षतिको विवरण सुनाए । उनले भने ‘पुनर्निर्माण र पुनर्स्थापनाका लागि विशेष कार्यक्रम घोषणा गर्नुपर्‍यो ।’ बझाङकी सांसद आशा विकले जिल्ला नै छियाछिया भएको बताइन । ‘१५/२० वर्षयता विकासको क्षेत्रमा भएको लगानी सबै खतम भएको छ,’ उनले भनिन् । सभापति खड्काले सरकारलाई उचित सुझाव र निर्देशन दिने बताइन । नेपाल वायुसेवा निगमको नियमित उडान सञ्चालन र खाद्यान्नको व्यवस्थापनका लागि पनि पहल गर्ने आश्वासन उनले दिइन । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रम कसरी गर्न सकिन्छ भनेर सर्वपक्षीय छलफल गरेका छन् ।

समाचार

नेपाल–भारत सुरक्षा बैठक

- कान्तिपुर संवाददाता


नयाँदिल्ली (कास)– नेपाल र भारत सुरक्षासम्बन्धी विषयको नियमित बैठक शुक्रबार बैंग्लोरमा सम्पन्न भएको छ । द्विपक्षीय परामर्श समूहको १४ औं बैठकको नेतृत्व दुवै मुलुकको परराष्ट्र मन्त्रालयका सहसचिवले गरेका थिए ।
दुई दिनसम्म चलेको उक्त बैठकमा सैन्य तालिम, क्षमता अभिवृद्धि, सूचना आदानप्रदान तथा उच्चस्तरीय भ्रमण आवागमन बढाउने विषयमा छलफल भएको थियो । नेपालतर्फबाट नेतृत्व गरेका परराष्ट्रका सहसचिव तीर्थराज वाग्लेले बैठक नियमित एजेन्डाहरूमै केन्द्रित रहेको बताए । बैठकमा सुरक्षा अधिकारीहरू पनि सहभागी थिए ।

समाचार

काबुलमा फसेका ३२ नेपालीको उद्धार

- राजेश मिश्र

(नयाँदिल्ली) - गैरकानुनी ढंगले अफगानिस्तान पुगेका र पछिल्लो तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपालीलाई नेपाल सरकारले काबुलबाट मुक्त गराएको छ । तालिवानले सैन्य बल प्रयोग गरेर अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएदेखि नै उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र अन्य सरकारी एजेन्सीहरू सक्रिय थिए । अफगानिस्तानमा नेपालको कुनै एजेन्सी छैन । भारतस्थित दूतावासले नै अफगानिस्तान हेर्दै आएको छ ।
दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीले महिनौंदेखिको प्रयास सफल भएको बताए । ‘त्यहाँ रहेका ३२ जना नेपाली निक्लिएसँगै अफगानिस्तानबाट उद्धार गर्नुपर्ने मिसन पूरा भएको छ,’ उनले भने, ‘अब हाम्रो जानकारीमा उद्धार गर्नुपर्ने अवस्थाका नेपालीहरू त्यहाँ हुनुहुन्न ।’ भारतका समेत सयौं नागरिक अझै उद्धारको पर्खाइमै छन् ।
चार्टर्ड गरिएको इरानको महान् एयरबाट ३२ जनालाई शुक्रबार साँझ तेहरान पुर्‍याइएको छ । तेहरानबाट दुबई हुँदै उनीहरू शनिबार बिहान काठमाडौं अवतरण हुने सुवेदीले जानकारी दिए । दुबईबाट उनीहरूलाई नेपाल एयरलाइन्सको नियमित फ्लाइटले लग्नेछ । गत साता तालिवान अथोरिटीले अन्तिम समयमा रोकेपछि यी ३२ जना विमानस्थलबाट फिर्ता हुनुपरेको थियो । भिसाको म्याद सकिएका कारण उनीहरूलाई बाहिरिनबाट तालिवानी अथोरिटीले रोकेको थियो । आवश्यक जरिवाना बुझाएर तथा ट्राभल डकुमेन्ट पठाएर दूतावास उनीहरूलाई काबुलबाट उद्धार गर्न सफल भएको हो ।
रोजगारीको खोजीमा विभिन्न माध्यमबाट अवैध तरिकाले अफगानिस्तान पुगेका ३४ नेपाली दिल्लीस्थित दूतावासको सम्पर्कमा आएका थिए । विभिन्न ८ स्थानमा छरिएर रहेका उनीहरूलाई केही समय गुरुद्वारामा राखिएको थियो । गुरुद्वारा नै सुरक्षा खतरामा परेपछि विभिन्न सूत्रको प्रयोग गरेर उनीहरूलाई यूएन एजेन्सीको परिसरमा सारिएको थियो । महिनौंदेखि उनीहरू अफगानिस्तानमा यूएन एजेन्सीलाई सुरक्षाकर्मी आपूर्ति गर्ने बेलायती संस्था आईडीजीको संरक्षणमा थिए । आईडीजीले नेपालबाट पनि सुरक्षार्की आपूर्ति गर्ने गरेको छ । दिल्लीस्थित दूतावासको आग्रहमा उनीहरूलाई आईडीजीले आवास तथा खाना दिइरहेको थियो । उसैको सहयोगमा सबैको उद्धार गरिएको हो ।
यूएन एजेन्सीको सुरक्षामा खटिएकामध्ये बिदामा नेपाल आएका ८६ जनासँगै २ जना गत बुधबार नै काठमाडौं ओर्लिएका थिए । उनीहरूको भिसा अवधि बाँकी रहेकाले समस्या भएन । बाँकीलाई विमानस्थलबाट फर्काइएपछि नेपाल सरकार र दिल्ली दूतावासको तनाव बढेको थियो । तर, त्यसको एक सातामै सबैको उद्धार भएको छ । उद्धार प्रक्रियामा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने कार्यवाहक राजदूत सुवेदीले जानकारी दिए । ‘अहिले आईडीजीले सबै व्यवस्था मिलाएको छ, उसले दाबी गरेअनुसारको मनासिव खर्च सरकारले बेहोर्ने प्रतिबद्धता हामीले व्यक्त गरेका छौं,’ उनले भने ।

समाचार

सीमामा परिचयपत्र लागू गरिने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सरकारले नेपाल–भारत सीमा नाकाबाट हुने अवैध घुसपैठ र नाका छली रोक्न दुवै देशका नागरिकलाई आवागमनमा परिचयपत्र अनिवार्य गर्न कूटनीतिक तहमा छलफल गर्ने भएको छ । अफगानिस्तान, म्यानमार, इरान, इराकलगायत युद्धग्रस्त मुलुकका नागरिक दक्षिण तर्फका नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्नेक्रम नरोकिएपछि सरकारले तेस्रो देशका नागरिकमाथिको नियमन एवं नाकामा चेकजाँच बढाउन परिचयपत्र अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौडेल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, सेनासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी, अध्यागमन विभागका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले केन्द्रीय सुरक्षा समिति बैठकमा सीमाबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ/नाका छली रोकथाम तथा नियन्त्रणबारे केन्द्रित भएको बताए । सीमामा सीसीटीभीबाट समेत निगरानी र नियमन बढाउन पनि बैठकले निर्देशन दिएको छ । पछिल्लो समय अफगान, म्यानमारका रोहिंग्यालगायत विदेशी अवैध रूपमा भित्रिएर ‘शरणार्थी’ भेषमा लुकीछिपी बस्ने गरेको विषयलाई गम्भीर रूपमा लिएर सुरक्षा समिति बैठकले त्यसलाई रोकथाम तथा नियन्त्रण एवं सीमाबाट हुने आवागमन व्यवस्थित गर्न परिचयपत्र अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए । यसका लागि दुवै देशबीच कूटनीतिक तहमा पहल थालिने उनले बताए ।

Page 7
Page 8
Page 9
अर्थ वाणिज्य

तिहारलक्षित सामग्रीको मूल्य अचाक्ली

- राजु चौधरी

(काठमाडौं) - उज्यालाको चाड हो, तिहार । यति बेला मुख्यतः विद्युतीय बत्ती (झलर), भाइमसलालगायत वस्तुको खपत बढी हुन्छ । तर यही समयमा यिनै वस्तुको मूल्य अचाक्ली बढिरहेको छ । दसैंमा मूल्य बढाएर लुट मच्चाएका केही व्यवसायीले तिहारका सामग्रीमा पनि सोही बाटो अपनाएका छन् । तिहारलाई अत्यावश्यक चिनी, आँटा–मैदा, काजु, किसमिस, नरिवल, छोकडा, ओखरलगायत वस्तुको मूल्य अत्यधिक छ ।
‘खाद्यान्नमा आँटा, मैदाको मूल्य बोरा (५० किलो) मा २ सय रुपैयाँ बढेको छ । दसैंअघि प्रतिकिलो ८४/८५ रुपैयाँ रहेको चिनी अहिले होलसेलमै ९२/९३ रुपैयाँ पुगेको छ । ड्राई फुडको अवस्था पनि उस्तै छ,’ खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले भने, ‘मूल्य किन एक्कासि बढ्यो, खुद्रा व्यापारीलाई थाहा भएन । मूल्यवृद्धिमा आयातकर्ता र उत्पादक नै दोषी हुन् ।’ आयातकर्ताले मनपरी गर्दा तिहार लक्षित सामग्रीको मूल्य बढेको उनको भनाइ छ । पछिल्लो समय भइरहेको मूल्यवृद्धिका विषयमा वाणिज्य तथा आपूर्ति सचिवलाई जानकारी गराइएको तुलाधरले बताए ।
नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने गहुँ, मैदा र आँटा अभावका कारण मूल्य बढेको दाबी गरे । ‘स्वदेशी उत्पादन पर्याप्त नभएपछि भारतबाट ल्याउनुपर्छ । पछिल्लो समय त्यहाँ पनि मूल्य बढेको छ,’ श्रेष्ठले भने, ‘जसले गर्दा यहाँ केही असर परेको हो ।’ चिनी पनि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात नहुँदा व्यापारीहरूले यसको मूल्य बढाउने मौका पाएको उनले बताए । ‘अहिले सरकारसँग चिनी छैन । आयातकर्ताले पनि पर्याप्त ल्याएका छैनन्,’ उनले भने, ‘त्यही भएर चिनीको मूल्य बढ्यो । एक महिनाको तुलनामा होलसेलमा प्रतिकिलो ५ रुपैयाँ बढेर ९२ रुपैयाँ पुगेको छ ।’
होलसेलमै ९२ रुपैयाँ हुँदा खुद्रा पसल र उपभोक्तासम्म आइपुग्दा किलोकै करिब एक सय रुपैयाँ पर्ने देखिन्छ । यता, साल्टले भने प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गरिरहेको छ । यद्यपि, साल्टसँग पर्याप्त मौज्दात छैन । ‘करिब २ सय टन होला, साल्टको आउटलेटमा आउने ग्राहकलाई २ किलोका हिसाबले दिएका छौ,’ साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारी भने, ‘उक्त चिनी तिहारसम्म पुग्न सक्छ । छठका लागि थाहा छैन ।’ चिनीको माग भने छठसम्मै हुन्छ ।
साल्टसँग चिनीको मौज्दात सकिँदै गर्दा अर्थ मन्त्रालयको सहमतिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियतमा आयात गर्न प्रस्ताव गरेको थियो । तर अर्थले अभाव नहुने भन्दै आयात अनुमति दिएन । सोही कारण अहिले सर्वसाधारणलाई चिनी अचाक्ली महँगो परेको हो । बजारभाउ बिस्तारै बढ्दो छ । ‘निजी व्यवसायीसँग सामान नभएको होइन, सरकारसँग सामान नहुँदा व्यवसायीले मनलाग्दी मूल्य गरे,’ एक होलसेल व्यवसायीले भने, ‘अब एक ट्रक चिनी मगाउँछन् । तर यहाँ रहेको ५ ट्रक स्वदेशी चिनी बढेको मूल्यमै बिक्री गर्छन् ।’
खाने तेलमा पनि मूल्य बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेल बताउँछन् । ‘लिटरको २६८ रुपैयाँ पर्ने तेलको मूल्य २९५ रुपैयाँ पुर्‍याइएको छ । तिहारलक्षित कपडाको मूल्य, झिलीमिली बत्ती र चिनीमा मूल्य बढेको छ,’ उनले भने । थोक मूल्यमा ५० किलोको बोराको २१५० रुपैयाँ पर्ने मैदा बढेर २५०० रुपैयाँ पुगेको छ । आँटा २१ सय रुपैयाँबाट २४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
तिहारमा भाइमसलाका रूपमा प्रयोग हुने ड्राई फुडको मूल्य पनि अकासिएको छ । काजु, किसमिस, बदाम र ओखरको मूल्य झन्डै २५ प्रतिशत बढेको नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका वाणिज्य तथा आपूर्ति समिति सभापति दुर्गाराज श्रेष्ठले बताए । छोकडा बजारमा पाउन मुस्किल नै छ । केही पसलमा भेटिए पनि मूल्य छोइनसक्नु छ । नेपाल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार काजुको होलसेल मूल्य प्रतिकिलो १५०० रुपैयाँ पर्छ ।
सुकमेल प्रतिकिलो २९०० रुपैयाँ, किसमिस प्रतिकिलो ४२५ रुपैयाँ, ल्याङ प्रतिकिलो १२८० रुपैयाँ, पेस्ता प्रतिकिलो १६६० रुपैयाँ, बदाम प्रतिकिलो १०७५ रुपैयाँ र ओखर प्रतिकिलो ५२५ रुपैयाँ पर्छ । ‘उक्त मूल्यमा १०/१२ प्रतिशत जोडर खुद्रा व्यापारीले उपभोक्तालाई बेच्छन्,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत व्यापार समितिका उपाध्यक्ष ओमप्रकाश वंशलले भने केही वस्तु नाकामा रोकिएकाले बजारमा समस्या देखिएको प्रतिक्रिया दिए । बजारमा नरिवल, छोकडा, ओखरलगायतमा समस्या देखिएको उनको भनाइ छ । काजु र नरिवल भारतको केरलाबाट आउने गरेको छ । तर वर्षा र बाढीका कारण सामान समयमै आउन सकेन ।
छोकडा पाकिस्तानबाट आउँछ । त्यहाँबाट पनि पर्याप्त आउन नसकेको वंशलले बताए । ओखर केरुङ नाका भएर आउने गरेको छ । केरुङ नाका सहज नहुँदा त्यहाँ पनि उस्तै समस्या छ । ‘केही प्राविधिक कठिनाइका कारण समयमै पर्याप्त मात्रामा वस्तु आयात हुन सकेन । अभाव भएपछि केही प्रतिशत मूल्य बढ्नु स्वाभाविक हो,’ वंशलले भने, ‘अहिले माग छ तर आपूर्तिमा समस्या छ ।’

विद्युतीय झलरमा २५ देखि ३० प्रतिशत मूल्यवृद्धि
तिहारमा घर सजाउन प्रयोग हुने विद्युतीय झलरको मूल्य पनि २५ देखि ३० प्रतिशत बढेको छ । ढुवानी भाडा र लागत बढेसँगै आयातमा कमी हुँदा मूल्य बढेको व्यवसायीहरूको दाबी छ । व्यवसायीका अनुसार बत्ती चीन र भारतबाट आयात हुन्छ ।

कोभिडका कारण आयात सहज नहुँदा थप मूल्य बढाइदिएको हो । ‘लागत र ढुवानी भाडा अत्यधिक बढेको छ । आयातमा कमी हुँदा पनि केही असर गरेको देखिन्छ,’ नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले भने ।
काठमाडौं विद्युत् व्यवसायी संघका अध्यक्ष सरोजकुमार रेग्मीले पनि सामान नभएरै मूल्य बढेको प्रतिक्रिया दिए । ‘खपत राम्रो भए पनि यसपालि सामान आयात हुन सकेन । त्यसैले पर्याप्त सामान छैन,’ उनले भने ।
मूल्य नियन्त्रण गर्ने निकाय नेतृत्वविहीन, महानगरपालिकाको अनुगमन स्वार्थकेन्द्रित
बजारमा मूल्य बढिरहँदा नियामक निकाय भने मौन छन् । बजार मूल्य हस्तक्षेप गर्ने मुख्य दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हो । तर विभाग नेतृत्वविहीन छ । यसअघि विभागका महानिर्देशक प्रकाश पौडेल थिए । दसैंअघि पौडेल राजस्व अनुसन्धान विभागमा सरुवा भएपछि विभागमा महानिर्देशक छैनन् ।
आपूर्ति व्यवस्था चुस्त बनाउने दायित्व बोकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि मन्त्रीविहीन छ । यी विविध कारणले गर्दा बजार अनुगमन र नियमन चुस्त छैन । वाणिज्यसँगै संविधानले बजार अनुगमन र मूल्य नियन्त्रणको अधिकार प्रदेश र स्थानीय तहलाई पनि दिएको छ । तर ती तहबाट अनुगमन भएको छैन । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार वाणिज्यले महानगरपालिकाहरूमा निरीक्षण अधिकृत पनि तोकेको छ । तर महानगरपालिकाबाट पनि अनुगमन हुँदैन । केही नगरपालिकाले देखावटी रूपमा अनुगमन गरे पनि प्रभावकारिता छैन । पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनुगमन गरेको जनाएको छ । तर अनुगमन मिठाई पसलमा मात्रै केन्द्रित छ । अनुगमन स्वार्थमा प्रेरित भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको आरोप छ ।
वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईं भने बजार अनुगमन नियमित भइरहेको दाबी गर्छन् । चाडबाडमा मूल्यसँगै खाद्यवस्तुको गुणस्तरमा पनि खेलबाड गरिन्छ । खाद्यान्नको गुणस्तर परीक्षण गर्ने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । विभागले अनुगमनमा सक्रियता नदेखाउँदा उपभोक्ता गुणस्तरमा ठगिएका हुन् । डिभिजन कार्यालय र केन्द्रबाट नियमित अनुगमन गरिरहेको खाद्यका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।


ड्राई फुडको मूल्य कति ?
(प्रतिकिलो)

काजु ः १५०० रुपैयाँ
छोकडा ः १७५ रुपैयाँ
सुकमेल ः २९०० रुपैयाँ
किसमिस ः ४२५ रुपैयाँ
ल्वाङ ः १२८० रुपैयाँ
पेस्ता ः १६६० रुपैयाँ
बदाम ः १०७५ रुपैयाँ
ओखर ः ५२५ रुपैयाँ
स्रोत ः नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं

 

अर्थ वाणिज्य

२ खर्ब २९ अर्बको विदेशी विनिमय डेरिभेटिभ कारोबार

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपालमा वार्षिक करिब २ खर्ब २८ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय डेरिभेटिभको कारोबार हुँदै आएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंक अनुसन्धान विभागले गरेको ‘नेपालमा विदेशी विनिमय डेरिभेटिभ’ सम्बन्धी अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंकले २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय
डेरिभेटिभ कारोबार गरेको प्रतिवेदनले देखाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विदेशी विनिमय डेरिभेटिभसम्बन्धी फरवार्ड, स्वाप, अप्सनलगायत विभिन्न प्रडक्ट उपलब्ध हुन्छन् । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्था पत्ता लगाउने उद्देश्यले राष्ट्र बैंकले यो अध्ययन गरेको हो । विदेशी विनिमयदर डेरिभेटिभका विभिन्न प्रडक्टमध्ये धेरैले फरवार्ड कन्ट्र्याक र थोरैले मात्र स्वाप्स कारोबार गर्दै आएको अध्ययनले देखाएको छ ।
फरवार्ड कारोबार भनेको भविष्यमा विदेशी विनिमय दरमा हुने उतारचढावको जोखिम कम गर्न गरिने सम्झौता हो । उदाहरणका लागि, कुनै व्यापारीले विदेशबाट सामान आयात गरेबापत एक महिनापछि विदेशी मुद्रामा भुक्तानी गर्नुपर्नेछ । यस्तो अवस्थामा उक्त व्यवसायीले एक महिनाअघि नै बैंकसँग सम्झौता गर्छ । सम्झौतामा एक महिनापछि विनिमय दरमा जस्तोसुकै परिवर्तन भए पनि बैंकले पुरानै दरमा विदेशी मुद्रा उपलब्ध गराउने भनिएको हुन्छ । यस्तो सम्झौता सामान निर्यातको हकमा पनि गर्न सकिन्छ ।
‘अध्ययनले नेपालमा सबै वाणिज्य बैंकहरू फरवार्ड मार्केटमा संलग्न रहेको र आधाजसो बैंक स्वाप्स कारोबारमा संलग्न रहेको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘८१ उत्तरदाता गैरवित्तीय फर्ममध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । यसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्म छन् ।’ दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्म ३७ प्रतिशत रहेको प्रतिवेदनले औंल्याएको छ ।
‘विदेशी विनिमय जोखिम रहेको भन्ने फर्महरूमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रडक्टसम्बन्धी जानकारीको अभाव देखिन्छ,’ अध्ययनमा उल्लेख छ । अध्ययनमा नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे विश्लेषण गरिएको छ ।
अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाबारे पनि विश्लेषण गरेको छ । सार्क मुलुकहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको अध्ययनले औंल्याएको छ ।
विदेशी विनिमयको तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारका आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामै रहेको अध्ययनबाट देखिएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने अवस्था छ ।
हाल धितोपत्र कारोबारमा प्रयोग हुँदै आएको ओभर द काउन्टर (ओटीसी) बजारलाई अझ सशक्त बनाउनुपर्ने प्रतिवेदनको सुझाव छ । यस्तै हेजिङलाई सहजता प्रदान गर्न र वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्न दीर्घकालीन फरवार्ड, स्वाप्स, अप्सनलगायत विदेशी विनिमय डेरिभेटिभसम्बन्धी
प्रडक्टलाई प्र्रवर्द्धन गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

अर्थ वाणिज्य

‘सुपारी, मरिच र छोकडा आयातकर्तालाई सटही सुविधा देऊ’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सरकारबाट अनुमित पाएका सुपारी, मरिच र छोकडा आयातकर्तालाई विदेशी मुद्राको सटही सुविधा दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले शुक्रबार परिपत्रमार्फत यस्तो निर्देशन दिएको हो । निकासी पैठारी नियन्त्रण ऐन २०१३ बमोजिम सरकारले गत वर्षदेखि सुपारी, मरिच, छोकडालगायत वस्तुको आयात अनुमति बन्द गरेको छ । गत आर्थिक वर्षका लागि
कोटा तोकेर ती वस्तु आयात गर्न दिएको थियो । यसरी आर्थिक वर्ष २०७७/७८ मा आयात अनुमति पाइसेकेका व्यापारिका लागि विदेशी मुद्रा सटही सुविधा दिन राष्ट्र बैंकले भनेको हो ।
गत आर्थिक वर्ष आयात अनुमति लिएर ६ महिना ननाघेका आयातकर्ताका लागि आवश्यक सबै मापदण्ड पुगेको अवस्थामा सरकारले तोकेको परिमाणमा आयात गर्न चाहिने विदेशी मुद्रा सटही सुविधा दिन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको हो । ‘अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यको सवारीसाधन आयातमा लगाइएको पूर्ण बन्देज हटाइएको हुँदा सोही अवस्थाको अधीनमा रही विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ ।

अर्थ वाणिज्य

सबै प्रकारका इन्धनको भाउ बढ्यो

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले अक्टोबर १६ मा पठाएको मूल्यसूचीअनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा देखिएपछि निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टीतेलको ११६/११६ रुपैयाँ निर्धारण गरिएको कार्कीले बताए । हवाई इन्धनको साविक बिक्री मूल्यमा १० रुपैयाँ वृद्धि गरेर आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्‍याइएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएको छ । ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय रुपैयाँ तोकेको छ । मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा १ अर्ब ८७ करोड हुने निगमले जनाएको छ ।

अर्थ वाणिज्य

विराटनगर विमानस्थलबाट रात्रिकालीन उडान सुरु

- कान्तिपुर संवाददाता


मोरङ (कास)– विराटनगर विमानस्थलबाट बाढीले अवरुद्ध रात्रिकालीन नियमित उडान सुरु भएको छ । अविरल वर्षाले कात्तिक ३ मा आएको बाढी विमानस्थलमा पसेर बिग्रेको एयरफिल्ड ग्राउन्ड लाइटिङ सिस्टम मर्मतपछि शुक्रबारबाट रात्रिकालीन उडान सुरु भएको हो ।
एयरफिल्ड ग्राउन्ड लाइटिङ सिस्टम मर्मतपछि रात्रिकालीन नियमित उडान र अवतरण सेवा पुनः सुरु भएको विराटनगर विमानस्थलका प्राविधिक अधिकृत रामनिवास यादवले जानकारी दिए । यसले विराटनगर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भएको उनले बताए । अब विराटनगर विमानस्थलबाट २१ वटा नियमित उडान र सोही संख्यामा अवतरण पनि सुरु भएको यादवको भनाइ छ । विराटनगर विमानस्थलबाट दैनिक १ हजारभन्दा बढी यात्रुले यात्रा गर्दै आएका छन् ।
बाढीले डुबान भएको विमानस्थल सञ्चालनका लागि कात्तिक ५ मा धावनमार्ग, पार्किङ क्षेत्र, टर्मिनल भवन सुरक्षाकर्मीहरूको सहयोगमा सफाइ गरेर कात्तिक ६ बाट उडान सुरु भएको गरिएको थियो । तर एयरफिल्ड ग्राउन्ड लाइटिङ सिस्टम बिग्रेकाले रात्रिकालीन उडान सुरु हुन सकेको थिएन । बाढी पसेर बिग्रेको विमानस्थलस्थित दुई वटा एक्स–रे मेसिन अझै मर्मत हुन सकेका छैनन्, जसका कारण सुरक्षाकर्मीले प्रत्येक सामान जाँच गर्न बाध्य छन् ।

Page 10
अर्थ वाणिज्य

‘लोन्ली प्लानेट’ को घुम्नैपर्नेर् सूचीमा नेपाल

- कान्तिपुर संवाददाता

(लुम्बिनी) - संसारकै विश्वासिलो ट्राभल गाइडबुक पब्लिसर्स कम्पनी ‘लोन्ली प्लानेट’ ले सन् २०२२ मा विश्वमै घुम्नुपर्ने मुलुकमा नेपाललाई समावेश गरेपछि लुम्बिनीका पर्यटन व्यवसायी उत्साहित छन् । कोरोना संक्रमणले थलिएको नेपाली पर्यटन उकास्न लोन्ली प्लानेटले प्रकाशन गरेको सूची प्रभावकारी हुने उनीहरूको भनाइ छ ।
चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले पर्यटकीय गन्तव्य र यात्राबारे जानकारी दिँदै सन् २०२२ मा घुम्नुपर्ने १० उत्कृष्ट मुलुकभित्रको सूचीमा नेपाललाई राखेको हो । २०४ पृष्ठको पुस्तकमा लोन्ली प्लानेटले घुम्नैपर्ने उत्कृष्ट १० मुलुकसँगै १० क्षेत्र र १० सहरको सूची पनि सार्वजनिक गरेको छ । उत्कृष्ट १० भित्र पहिलो नम्बरमा कुक आइल्यान्ड छ । नर्बे, मौरिसस र बेलिज क्रमशः दोस्रो, तेस्रो र चौथोमा छन् । पाँचौं, छैटौं र सातौंमा क्रमशः स्लोभेनिया, एङ्गुइला र ओमान छन् । नेपाल, मलावी र इजिप्ट क्रमशः आठौं, नवौं र दसौं उत्कृष्ट मुलुकको सूचीमा परेका छन् ।
‘विश्वका दुई सय मुलुकमध्ये उत्कृष्ट १० भित्र पर्नु नेपालका लागि गौरवको कुरा हो,’ लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने, ‘यसले कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई अवश्य पनि राहत दिनेछ ।’ लोन्ली प्लानेटको ट्राभल गाइडबुक धेरै भाषामा निस्कन्छ । ‘पर्यटकले आफ्नै भाषामा गाइडबुक पढ्न पाउँदा निकै उत्साहित हुन्छन्,’ पर्यटन व्यवसायी लीलामणि शर्माले भने, ‘यसले उनीहरूलाई घुम्न उत्प्रेरित गर्छ ।’ घुमन्तेका लागि ‘लोन्ली प्लानेट’ को ट्राभल गाइडबुक महत्त्वपूर्ण मानिन्छ । बुकमा नेपालका आकर्षण र महत्त्वपूर्ण पयर्टकीय स्थल, होटल, नक्सा र यातायातसम्बन्धी सूचना दिइएको छ । ‘संसार घुम्दै रमाउनेको ध्यान अब नेपालसँगै लुम्बिनीतिर आकर्षित हुनेछ,’ भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘त्यसअनुसार हामीले तयारी थालिहाल्नुपर्छ ।’ ‘लोन्ली प्लानेट’ ले यसअघि सन् २०१७ मा पनि नेपालका सगरमाथा, अन्नपूर्ण, लाङटाङ, हेलम्बु र मनास्लु क्षेत्र छनोटमा परेको थियो ।

अर्थ वाणिज्य

डेढ वर्षपछि खुल्यो नेपाल–भारत मैत्री बस

- भवानी भट्ट

(कञ्चनपुर) - नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन भएको छ । कोरोना संक्रमणको महामारी सुरु भएयता उक्त बस सेवा झन्डै डेढ वर्षदेखि बन्द थियो । भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट शुक्रबार बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर भित्र्याइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताए ।
नेपालीको हकमा नाकामै रहेको सुविधाअनुसार एन्टिजेन परीक्षण गराउनुपर्छ । भारतीयले ७२ घण्टाभित्रको पीसीआर परीक्षणसँगै दुवै डोज खोप लगाएको हुनुपर्ने कागज देखाउनुपर्छ । यसैगरी भारतीय सवारीसाधन भन्सार तिरेरमात्रै नेपाल प्रवेश गर्न पाउँछन् । ‘भारतीय गाडीहरू चल्न थाले, अब हामीले पनि यताबाट एक/दुई दिनमै दिल्ली र देहरादुनका लागि बस सञ्चालन गर्छौं,’ अध्यक्ष पन्तले भने, ‘लामो समयको प्रयासपछि सेवा पुनः सुरु भएको छ, यसलाई निरन्तरता दिनेतर्फ लाग्छौं ।’ कोरोना संक्रमणअघि महेन्द्रनगरबाट दिल्ली र देहरादुनसम्म नौवटा बस नियमित चलिरहेका थिए । २०७६ चैत १० देखि मैत्री सेवा बन्द भएको थियो । पहिलो लहरको संक्रमण फैलिँदा नाका बन्द भएसँगै बस सेवा बन्द भएको हो । त्यतिबेला महेन्द्रनगरदेखि दिल्लीसम्म ६ र महेन्द्रनगरदेखि देहरादुनसम्म ३ बस दैनिक चल्ने गरेका थिए । महाकाली र पवनदूत यातायात प्रालिहरूले भारतको उत्तराखण्ड परिवहन निगम र उत्तर प्रदेश परिवहन निगमसंँग नेपाल–भारत बस सेवा सञ्चालन गर्ने सम्झौता गरेका छन् ।
पछिल्लो पटक असोज १० को मन्त्रिपरिषद् निर्णयअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेर बस सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष पन्तले बताए । भारतीय बसहरू भन्सार शुल्क तिरेर नेपाल प्रवेश गर्ने भए पनि नेपाली बसको हकमा भने भारतीय दूतावासबाटै रुट परमिट लिएर सञ्चालन हुनेछन् । भारतीय दूतावासबाट रुट परमिटको प्रक्रिया अघि बढेकाले छिट्टै बस सञ्चालन हुने अध्यक्ष पन्तले बताए । कोरोना संक्रमणका कारण सेवा बन्द हुँदा उक्त रुटमा चल्ने बसहरू थन्किएका छन् । ‘डेढ वर्षदेखि बसहरूमा खिया लागेको छ,’ यातायात व्यवसायी नवीन भट्टले भने, ‘अब मर्मत र सरसफाइमा लागेका छौं ।’ दिल्ली र देहरादुन चल्ने एक दर्जन बस कोरोना संक्रमण सुरु भएदेखि ठप्प छन् । ‘मैत्री बस चल्ने भएपछि नेपालीसँगै अरू पर्यटकका लागि पनि सजिलो हुनेछ,’ यातायात व्यवसायी भट्टले भने, ‘सीमावर्ती क्षेत्रमा यातायातका सवारीसाधनमा हुने लुटपाट तथा बढी भाडा लिने घटना पनि कम हुनेछन् ।’ महेन्द्रनगरदेखि बनबासासम्म साना खालका सवारीसाधनमा यात्रुले चर्को भाडा तिर्नुपरेको छ ।

अर्थ वाणिज्य

फेसबुकको माउ कम्पनी ‘मेटा’

- कान्तिपुर संवाददाता


सान फ्रान्सिस्को (रासस/सिन्ह्वा)– चर्चित सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था परिवर्तन भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाइएको बिहीबार घोषणा गरे । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी ‘भर्चुअल रियलिटी’ जस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहेकाले सोहीअनुसारको नयाँ नाम राख्नुपरेको उनले बताए ।
‘नयाँ राखिएको नामले कम्पनीको कार्यक्षेत्र विस्तारमा सजिलो हुने विश्वास लिएका छौं,’ उनले भने । अहिलेको नामले सम्भवतः आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको उनले प्रस्ट्याए । यसअघि कम्पनीको नाम पनि फेसबुक नै थियो । फेसबुक कम्पनीमार्फत फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्स एप सञ्चालित थिए ।
कम्पनीले बिहीबार नै अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ । फेसबुकका एक पूर्वकर्मचारीले कागजात सार्वजनिक गरिदिएपछि फेसबुकबारे नकारात्मक धारणा बनिरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो । यसअघि सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।

अर्थ वाणिज्य

कपिलवस्तुको चन्द्रौटामा मेगाको शाखा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मेगा बैंकले कपिलवस्तुको चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबारबाट कारोबार थालिसकेको छ । यो मेगा बैंकको २०१ औं शाखा हो । चालु आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको बैंकले जनाएको छ ।

अर्थ वाणिज्य

सोलुखुम्बुमा टेलिकमको अप्टिकल फाइबर

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुमा अप्टिकल फाइबर जोडेको छ । जिल्लामै पहिलो पटक अप्टिकल फाइबर लिंक जोडिएपछि यहाँ सेवाको गुणस्तर बढेको टेलिकमले जनाएको छ । समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको सोलुखुम्बुको पत्ताले रिपिटर स्टेसनमा बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिंक जोडिएको हो । रेडियो लिंकको सीमित क्षमताले गर्दा लामो समयदेखि यहाँ टेलिकमको सेवा गुणस्तरीय हुन सकेको थिएन । पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लुलगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर बढ्ने टेलिकमको दाबी छ ।

Page 11
Page 12
खेलकुद

मरियमको जोस

- मधु शाही,रुपा गहतराज

(बाँके) - भलिबल कोर्टमा सबै साथीहरू जर्सी, जुत्ता लगाएर उत्रिइरहेका थिए । नरैनापुर गाउँपालिका–६ जमुनीकी मरियम मुकेरी भने लगाएको फित्तेवाल चप्पल फुकालेपछि खाली खुट्टामै देखिइन् । उनले जर्सी सेट त लगाइन् । घुँडा छोपिने गरी टाउजर पनि लगाएकी थिइन् । अनुहारमा थोरै डर र धेरै लाज बोकेर उनी कोर्टमा भलिबल खेल्न उत्रिइन् । मरियम १२ कक्षामा पढ्छिन् । तर उनलाई मैदानमा खेल्ने कुरा त परै जाओस्, खुलेर घुँडा देखाउने लुगा लगाउनमै लाज लाग्छ ।
उनी त्यो भेगमा बस्छिन्, जहाँ बुर्काबिना किशोरीहरू बाहिर निस्कँदैनन् । १६ वर्षीया उनलाई नेपालगन्ज आउन पनि सजिलो थिएन । मुस्लिम समुदायकी मरियम धेरै हिम्मत जुटाएर खेल्न आएकी हुन् । परिवारको मन बुझाएर समाजको कुरा काट्ने बानीको नजरअन्दाज गर्दै उनी मैदानसम्म आएको सुनाउँछिन् ।
जयकिसान माविमा पढ्ने उनी मुस्लिम समुदायबाट खेल्न हिम्मत जुटाउने एक्ली किशोरी हुन् । ९ खेलाडीको टिममा मरियमले मात्र त्यो समुदायको प्रतिनिधित्व गर्छिन् ।
शुक्रबारदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । मरियमले खेल्ने अवसर पाएको सम्भवतः यो पहिलो खेल थियो । रातो माटोको कोर्टमा खाली खुट्टा भलिबल खेल्दै गर्दा मरियमलाई सजिलो पटक्कै भएको थिएन । तर, दर्शक भने उनको खेलप्रतिको उत्साह देखेर चकित थिए । पालिकाले तीन दिनअघि मात्रै प्रतियोगितामा सहभागी हुने जानकारी दिएको थियो । उनले स्कुलमा आक्कलझुक्कल बलको मुख देख्न पाएकी थिइन् । त्यसकै आधारमा उनलाई भित्री मनदेखि भलिबल खेल्न रहर जाग्यो । स्कुलमा पनि उनीहरूलाई खेलप्रति खासै प्रोत्साहन गरिँदैन । मरियम सुनाउँछिन्, ‘खेल्दा जुत्ता लगाउनुपर्छ भन्नेसम्म थाहा थिएन, चप्पल थियो त्यही लगाएर आएँ ।’
यद्यपि पहिलो पटक नेपालगन्ज आएर खेल्न पाउँदामै उनी दंग थिइन् । जिल्ला खेलकुद विकास समिति बाँकेले ग्रामीणस्तरदेखि महिला खेलाडी उत्पादन गर्ने हेतुले पहिलो पटक भलिबल प्रतियोगिता गरेको हो । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर, बैजनाथ, राप्तीसोनारी, कोहलपुर, डुडुवा, जानकी र खजुरा गाउँपालिका गरी ८ पालिकास्तरीय प्रतिस्पर्धा गराइएको थियो । पहिलो दिन शुक्रबार महिला खेलाडीको आत्मविश्वास, सिकाइ र मिहिनेत मापन गर्न सकिन्थ्यो । सबैभन्दा बढी चासो डुडुवा र नरैनापुर गाउँपालिकाका खेलाडीको थियो । यी दुई गाउँपालिकामा मधेसी र मुस्लिम समुदायको बाहुल्य छ । त्यसमा महिला खेलाडीलाई खेलमैदानसम्म ल्याउनु नै आफैमा चुनौतीपूर्ण कार्य थियो । हिम्मत जुटाएर मैदानमा आएकी नरैनापुरकी लक्ष्मी पाण्डे भन्छिन्, ‘खेल्न मन लाग्छ, खेलाउने कोही छैनन् ।’ लक्ष्मीले भनेजस्तै प्रतियोगिताको पहिलो खेलमा उनीहरू भलिबलको सामान्य नियमसमेत नबुझेर धेरै पटक हैरानी बेहोरे । उनीहरू कोर्टमा बिगार्दै र सिक्दै खेलिरहेका थिए ।
लक्ष्मीले भने तयारी राम्रो नभए पनि खेल्न पाउँदा खुसी भएको सुनाइन् । प्रशिक्षक अनि गुरुहरूले अभिभावकलाई मनाएपछि उनी बल्ल खेल्नलाई नेपालगन्ज आउन पाएकी हुन् । उनीसँगै अभिभावक बनेर हजुरबुबा सँगै आइपुगेका छन् । एकातिर मुस्लिम समुदायमा छोरीलाई खेल्न पठाउने चलन नै छैन । अर्कोतिर गाउँपालिकाले पनि उनीहरूलाई कसरी खेलाडी बनाउने योजना नै ल्याउँदैन । स्थानीय युवा अरसद मिकरानीले भने, ‘स्थानीय सरकारले खेलकुदमा लगानी बढाएमा यो समुदायबाट पनि राम्रा खेलाडी उत्पादन गर्न असम्भव छैन ।’ नरैनापुरले बैजनाथसँग पराजित भए पनि राम्रो प्रदर्शन गरेको थियो । ‘दुई दिनको अभ्यासमा टिम तयार गर्न सफल भएका हौं यो हाम्रा लागि सिकाइ पनि हो,’ स्थानीय शिक्षक अरुण यादवले भने, ‘अर्कोपल्ट प्रशिक्षणमै राम्रो लगानी गरेर खेलाडी उत्पादन गर्छौं ।’
प्रतियोगिता संयोजक समितिका उपाध्यक्ष कृष्णा पाठकले विभिन्न सामाजिक संस्कार र संस्कृति बोकेको समाजमा महिला खेलाडी उत्पादन गर्न सजिलो नभएको अनुभव सुनाइन् । पालिकाले खेल प्रवर्द्धनमा रुचि देखाउन थालेपछि नरैनापुरजस्तो विकट पालिकाबाट खेलाडी खेल्न आउनु ठुलै उपलब्धि रहेको उनको दाबी थियो । ‘छोरी खेल्न पठाउने संस्कारको विकास हुन जरुरी छ,’ उनी भन्छिन्, ‘यो कार्यक्रमको उद्देश्य पनि यही हो ।’
जिखेविसकी उपाध्यक्ष पाठक आफै पनि भलिबलकी पूर्वखेलाडी हुन् । नेपालगन्जमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबलका लागि घरेलु टोलीको आवश्यकता खट्किरहेका बेला यस्तो प्रतियोगिताबाट त्यो आवश्यकता छिट्टै पूरा हुने उनले सुनाइन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले वडातहसम्म लुकेका प्रतिभाको खोजी गरेर बाँकेमा महिला भलिबल टिम तयार गरिने बताए । जिल्लास्तरीय टिम बनाउन क्यालेन्डर नै बनाएर प्रतियोगितालाई निरन्तरता दिने
योजना सुनाए ।
विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वना स्थानका लागि १० हजार राखिएको छ । पहिलो खेलमा कोहलपुरले राप्तीसोनारीलाई २–१ सेटमा हरायो । बैजनाथले नरैनापुरलाई २–०, खजुराले डुडुवालाई २–० र नेपालगन्जले जानकीलाई पनि २–० को सेटमा हराएका थिए । शनिबार ८ खेल हुनेछ ।

खेलकुद

मछिन्द्रको पहिलो भेट एनआरटीसँग

सहिद स्मारक लिग
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीविरुद्ध प्रतिस्पर्धा गर्दै नयाँ सिजनको सुरुआत गर्ने भएको छ । शुक्रबार निकालिएको ‘ड्र’ अनुसार मछिन्द्र र एनआरटी मंसिर २ गते दशरथ रंगशालामा भिड्नेछन् ।
मछिन्द्रले गत सिजन विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई अन्तिम खेलमा पराजित गर्दै पहिलोपल्ट माथिल्लो श्रेणीको लिग जितेको थियो । मछिन्द्र र आर्मी यसपालि दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् । मंसिर ६ को यो खेल पनि दशरथ रंगशालामै हुनेछ । मछिन्द्रले उपाधि जोगाउने अभियानमा यसपालि पनि विशाल राई, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, मनीष डाँगी, सुनील बल, विमल घर्तीमगरलगायत चर्चित खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।
यसअघि यो सिजनको उद्घाटन खेलमा राजधानीको ‘ए’ डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच कात्तिक २९ गते दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा हिमालयन शेर्पाले संकटा, च्यासल युवा क्लबले थ्रीस्टार, जावलाखेलले मनाङ–मर्स्याङ्दी, ब्रिगेड ब्वाइजले एपीएफ र आर्मीले पुलिसविरुद्ध खेल्नेछन् । १४ क्लब सहभागी लिगका खेलहरू माघ १२ सम्म दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।
लिग विजेतालाई ७५ लाख रुपैयाँ, उपविजेतालाई ५० लाख र तेस्रो
हुनेलाई २५ लाख दिइने पनि एन्फाले जनाएको छ । गत वर्षको विजेताले ५० लाख र उपविजेता आर्मीले ३५ लाख पाएका थिए ।

खेलकुद

आर्मी र झापा भिड्ने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– त्रिभुवन आर्मी भेट्रान्स, खुमलटार भेट्रान्स, झापा भेट्रान्स र सानो गौचरन नाइट किङ क्लब शुक्रबार मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । अब आर्मी र झापा तथा खुमलटार र एसएनकेसीबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा शुक्रबार क्वाटरफाइनलका आर्मीले भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दा राजु तामाङले छैटौं मिनेटमा गोल गरेर अग्रता दिलाए । विकर्ण श्रेष्ठले ३६ औं मिनेट र हरि महतोले ४९ औं मिनेटमा गोल गरेपछि आर्मी अघि बढ्न सफल भयो ।
खुमलटारले फ्रेन्ड्स भेट्रान्सलाई ५–० ले हरायो । यो जितमा रितेश खड्काले दुई गोल गरे । अन्तिम १० मिनेटमा चार गोल गर्दा भगवान थापा, निमा लामा र टासी छिरिङले थप गोलमा नाम लेखाए ।
चितवन भेट्रान्समाथि ४–० को जित निकाल्दा झापाका नरेन्द्रमणि लिम्बूले दुई, अंकुरकुमार खड्गी र रमेश गुरुङले एक–एक गोल गरे । पोखरा भेट्रान्सले अग्रता जोगाउन नसक्दा एसएनकेसीसँग ४–१ को हार बेहोर्‍यो । पोखराका मनोजकुमार गुरुङले दिलाएको अग्रताविरुद्ध एनएसकेसीबाट दिनेश व्यञ्जनकार, बालगोपाल साहुखल, सुरेन्द्र तामाङ र राजेश शाहीले गोल गरे ।

खेलकुद

वेस्ट इन्डिजको रोमाञ्चक जित

- कान्तिपुर संवाददाता


शारजहाँ (एएफपी)– डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले अन्तिम बलसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा बंगलादेशलाई ३ रनले हराउँदै शुक्रबार ट्वान्टी–२० विश्वकपमा उपाधि रक्षाको आशा कायमै राखेको छ ।
बंगलादेशलाई २० औं ओभरमा आन्द्रे रसेलको बलिङमा जितका लागि १३ रन आवश्यक थियो । तर, शारजहाँमा १३९/५ मै सीमित भएपछि बंगलादेशले सुपर १२ मा लगातार तेस्रो हार बेहोर्‍यो । यससँगै बंगलादेशको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ ।
ड्वाइने ब्राभोले लिटोन दासको विकेट लिएपछि बंगलादेशलाई ठूलो झट्का लागेको थियो । उनले टिमका लागि सर्वाधिक ४४ रन जोडे । उनी १९ औं ओभरको अन्तिम बलमा आउट भए ।
यसअघि निकोलस पूरनले २२ बलमा ४० रन जोडेपछि वेस्ट इन्डिजले आफ्नो इनिङ्समा १४२/७ बनाएको थियो । रोस्टोन चेजले
ट्वान्टी–२० डेब्युमा ३९ रन बनाए । उनले पूरनसँग पाँचौं विकेटमा ५७ रनको साझेदारी गरे । यही साझेदारीले वेस्ट इन्डिजलाई अन्तिम ओभरतिर बलियो बनाएको हो । पूर्वकप्तान जेसन होल्डरले २० औं ओभरमा दुई छक्का प्रहार गर्दै ५ बलमा १५ रन बटुलेर टिममा पुनरागमन गरे । इनिङ्सको सुरुआतमा बंगलादेशी बलर हाबी भए । वेस्ट इन्डिजले लय गुमाएका क्रिस गेललाई ४ रनमै गुमायो । मेहेदी हसन, सोरिफुल इस्लाम र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए ।
जवाफमा बंगलादेशको सुरुआत पनि राम्रो भएन । प्रारम्भिक ब्याटसम्यानद्वय सकिब अल हसन र मोहम्मद नइमको वेस्ट इन्डिजका बलरहरूले कडा परीक्षा लिए । रसेलले सकिबलाई ९ रनमै पेभेलियन फर्काइदिए । त्यसअघि नै उनी क्याचआउट हुनबाट जोगिएका थिए । अर्को ओभरमा होल्डरले नइमलाई बोल्ड गरेर बंगलादेशमाथि दबाब सिर्जना गरिदिए । सौम्य सरकारलाई गुमाएपछि बंगलादेश ६०/३ को अवस्थामा पुग्यो ।
दासले एउटा एन्डबाट बंगलादेशको संघर्ष कायमै राखे । उनले मुस्फिकर रहिमसँग मिलेर लक्षित रनको औसत बढाएर जितको सम्भावना कायमै राखेका थिए । यो जोडीको साझेदारी रवि रामपालले तोडिदिए । उनले स्कुप सट प्रहार गर्ने प्रयास मा मुस्फिकरलाई बोल्ड गरिदिए । दास र कप्तान महमुदुल्लाह रियादले बंगलादेशलाई राम्रो अवस्थामा पुर्‍याएका थिए । तर, अन्तिम ओभरमा रसेलले वेस्ट इन्डिजलाई महत्त्वपूर्ण जित दिलाए । वेस्ट इन्डिजले अघिल्लो दुवै खेल हारेको थियो ।

खेलकुद

अनुश्री यू–८ मा विजेता

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा यू–८ तर्फ शुक्रबार फाइनलमा ब्वाइजतर्फ आर्याशले सुजन कुइँकेललाई १०–५, १०–६ को जित निकाले ।
गर्ल्सतर्फ अनुश्रीले सारा पन्तलाई १०–४, १०–६ को सेटमा हराइन् । विजयी खेलाडीले गिफ्ट ह्याम्पर पाए । गर्ल्स यू–१० मा शिभाली गुरुङले मालाश्री सिंहलाई ६–०, ६–० ले हराइन् । ब्वाइज यू–१२ तर्फ दर्सिल श्रेष्ठले निसाद जोशीलाई ६–१, ६–२ ले र बोरिस अधिकारीले श्रीजन भट्टराईलाई ६–२, ६–१ ले हराए ।
सिनियर पुरुष एकलमा प्रनव खनालले गोविन्द नेपालीलाई ७–५, ६–० ले, अकी जुवेन राउतले निजेज महर्जनलाई ६–०, ६–० ले, जितेन्द्र परियारले गौरवप्रताप शाहीलाई ६–२, ६–० ले, नविन पाइजाले नीरज गुरुङलाई ६–१, ६–२ ले, निशान श्रेष्ठले युगेन शेर्पालाई ६–२, ६–१ ले, आरभसम्राट हाडाले इभ्याक जोशीलाई ६–०, ६–० ले, प्रदीप खड्काले आर्यन गिरीलाई ७–५, ६–३ ले र ऋतिक राणाले भाष्करमान सिंहलाई ६–१, ६–१ ले पराजित गरेका छन् ।

खेलकुद

एपीएफ सेमिफाइनलमा

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । एपीएफले भारतको रोयल फुटबल क्लब सिलिगुढीविरुद्ध ५–० को फराकिलो जित निकालेको थियो । एकपक्षीय खेलमा एपीएफले २२ औं मिनेटमा आवास लामिछानेको गोलबाट खाता खोलेको थियो । आशिष लामाले दुई, प्रदीप लामा र सविन गुरुङले एक–एक गोल थप्दै फराकिलो जित निकाले । एपीएफका आशिष लामा म्यान अफ द म्याच हुँदै ५ हजार रुपैयाँ पुरस्कार थापे । शनिबार हिमालयन शेर्पा क्लब काठमाडौ र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

मैत्री तेक्वान्दो मिचिगनमा हुने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण अमेरिकाको मिचिगनमा हुने भएको छ । आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेस्ट तेक्वान्दो संघले आयोजना गर्ने प्रतियोगिता मे १३–१४ मा हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए । यसअघि प्रतियोगिता २०२० को मे १–२ मा मिचिगनमै हुने तय भए पनि विश्वव्यापी महामारी कोभिड–१९ का कारण स्थगित गरिएको थियो । प्रतियोगितालाई नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २० राष्ट्रका ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ३ पुरुष र २ महिला खेलाडीलाई नेपालबाट सहभागी गराइनेछ ।

खेलकुद

पलेशालाई लाखसहित सम्मान

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले टोकियो पारा ओलिम्पकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनलाई शुक्रबार १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ । टोकियो पारा ओलिम्पकमा नेपालबाट सहभागी एकमात्र खेलाडी पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् । कांस्य भिडन्तमा उनी चीनकी खेलाडीसँग पराजित भइन् । प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए । दुवैले जनही ५१ हजार नगद पाए ।

खेलकुद

सनिल र पूरन पराजित

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाली बक्सर पूरन राई र सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएका छन् । पूरन ५७ केजीमा मेक्सिकोका मिगुयल र सनिल ६७ केजीमा सर्बियाका अब्बासोभसँग पराजित भएको नेपाल बक्सिङ संघले जनाएको छ । प्रवक्ता श्याम अवालेका अनुसार प्रतियोगितामा नेपालको चुनौती सकिएको छ । सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगितामा नेपालबाट ४ खेलाडी प्रतिस्पर्धी थिए । यअअघि ६४.५ केजीमा भूपेन्द्र थापामगर फ्रान्स तथा ४८ केजीमा रविन थापा मंगोलियाका खेलाडीसँग हारेका थिए ।

 

Page 13
कोसेली

दुई शताब्दी पुरानो बजार

- सुरेश किरण


सय वर्ष पुराना स्मारक पुरातात्त्विक सम्पदामा दर्ज हुने इतिहासको सिद्धान्तलाई मान्ने हो भने असन केवल वस्तु विनिमय गरिने बजार होइन, एक पुरातात्त्विक सम्पदा पनि हो । बजार आफैं सम्पदामा रूपान्तरित भइसकेको कुनै थलो नेपालमा छ भने त्यो असन हो । असन अहिले पसल, डबली, मन्दिर, पाटी, सत्तलमा बसेर केवल बजार चलाइरहेको छैन, काठमाडौं उपत्यकाको शताब्दियौं पुरानो आर्थिक–सामाजिक इतिहासको कथा पनि बताइरहेको छ । एकफेर असनमा बेच्न राखिएका सामान होइन, ती सामान बेच्ने असनको इतिहासतिर फर्किहेरौं ।
यतिबेला असनलाई तिहार लागेको छ । असनको मुख्य चोकसम्म पुग्ने सातवटै नाकामा ‘सवारी प्रवेश निषेध’ लेखेर ट्राफिक तगारो तेर्स्याइएको छ । प्रत्येक वर्ष दसैं–तिहारका विशेष दिन असनमा ‘सवारी निषेध’ हुन्छ । चाडपर्व छिरेपछि असनमा मान्छे त छिर्न सक्दैनन्, सवारी कसरी छिराउने ?
दसैं–तिहारजस्ता ठूला चाडपर्व सबैभन्दा पहिले असन छिर्छन्, त्यसपछि मात्रै मान्छेका घर पस्छन् । यी चाडपर्वलाई चाहिने जम्मै सामान असनमै पाइन्छ ।
मान्छेका घर–घरमा चाडपर्व पुर्‍याउने दायित्व असनले अहिलेदेखि होइन, सयौं वर्षदेखि बोकिरहेको छ । उपत्यका वरिपरिका गाउँ–बस्तीका मानिस चाडपर्वकै बेला काठमाडौं आउँथे । पहिले–पहिले विशेष गरी इन्द्रजात्राका बेला उपत्यकाबाहिरका मानिस काठमाडौं आउने गर्थे । काठमाडौं आएर उनीहरू एक/दुई दिन जात्रा हेर्थे, र फर्किंदा दसैंका लागि चाहिने माल–सामानहरू किनेर लैजान्थे ।
असनका स्थानीय वीरेन्द्र तुलाधर (६८) को पसल ६ पुस्ता पुरानो हो । तुलाधरका अनुसार, पहिले–पहिले असनमा इन्द्रजात्रादेखि मात्रै बजार सुरु हुन्थ्यो । इन्द्रजात्रादेखि सुरु हुने यो बजारको घुइँचो तिहार नसकुन्जेलसम्मै जारी रहन्थ्यो । उतिबेला इन्द्रजात्रा हेर्न टोखा, साँखु, थिमि, भक्तपुर, कीर्तिपुर, ललितपुरदेखिका मानिस आउँथे । जात्रा सकिएपछि असन आएर दसैंका मरमसला, तेल, घ्यू, जिरा, मरीच, नुन, सख्खर आदि/इत्यादि किनेर घर फिर्थे । त्यही सामानले मानिसहरू कम्तीमा ६ महिना काम चलाउँथे ।
अहिले जात्रै हेर्नका लागि भनेर टाढा–टाढाबाट असन आउने मानिस घटिसकेका छन्, तर चाडपर्वमा लाग्ने असनको घुइँचो घटेको छैन, घुइँचो झन् बढ्दो छ ।
दुई शताब्दीभन्दा पनि पहिलेदेखि असनमा चल्दै आइरहेका केही पसलमध्ये एक हो– वीरेन्द्र तुलाधरको पसल । असन चोकबाट केलटोल जाने बाटो सुरु हुनेबित्तिकै दाहिनेतिर लहरै खोलिएका चारवटा मसला पसलमध्ये एउटा तुलाधरको हो । तुलाधरलाई थाहा भएअनुसार, यस पसलमा उनका हजुरबुबाका पनि बुबा तेजवीरसिंह तुलाधर बस्ने गर्थे । त्यसपछि उनका छोरा जोगवीरसिंह तुलाधर बस्न थाले, त्यसपछि उनका पनि छोरा रत्नवीरसिंह तुलाधर बसे । अहिले रत्नवीरका छोरा वीरेन्द्र तुलाधर पसल थामिरहेका छन् । तर, पसल चलाउने काम भने वीरेन्द्रका पनि छोरा सुविन्द्र तुलाधर (३२ वर्ष) ले गरिरहेका छन् । हजुरबुबाका पनि बुबा तेजवीरको मात्रै नाम थाहा भए पनि यो पसल तेजवीरभन्दा पहिले नै खुलिसकेको थियो भनेर आफूले सुनेको तुलाधर बताउँछन् । यसरी यो पसल प्रमाणसमेत खुल्ने गरी अहिले छैटौं पुस्ताले सञ्चालन गरिरहेको छ ।
तुलाधरको यस पसलमा पहिले–पहिले विक्री हुने सामानहरू विशेष गरी जडीबुटीबाट बनेका विभिन्न औषधि, पाचक, नरिवल, छोकडा, काजु आदि थिए । औषधिहरूमा पनि विशेष गरी पेट सेतो पलादी, घोटी, अग्नि कुमार आदि प्रमुख थिए । यी औषधि पसलेको घरमै विभिन्न जडीबुटी पिँधेर बनाइन्थ्यो । बिस्तारै बजारमा धमाधम एलोपेथिक औषधिहरू भित्रिन थाले र असनका पसलमा राखिएका यी अर्गानिक औषधिका बिक्री घट्न थाल्यो । त्यसैले पसलमा पनि यस्ता औषधिको मात्रा घट्दै जान थाल्यो । र, काजु, छोकडा, बदाम आदि मसलाको मात्रा बढ्दै जान थाल्यो । अहिले तुलाधरको यो पसल मसला–पसलमा बदलिएको छ ।
पसल बदलिए पनि केही मानिस अझै सेतो पलादी, अग्नि कुमार किन्न आउँछन् । पसलका चीजबीज नै फेरिइसक्दा पनि ग्राहक फेरिएका छैनन् । तिनै ग्राहकलाई चाहिन्छ भनेर तुलाधरले पसलमा ती पुराना औषधि बेच्न राखेकै छन् । तर, ती औषधि पहिलेझैं घरमै पिँधेर बनाइँदैन, बजारबाट थोकमा किनेर यहाँ खुद्रामा बेचिन्छ । तर, यसले पसलको शताब्दी पुरानो गन्धलाई जीवितै राखेको छ ।
वीरेन्द्र तुलाधरको पसल सामुन्नेको विदेहवीरसिंह तुलाधर (४१) को अर्को पसल पनि पहिले वैद्य (औषधि) कै पसल थियो । उहिले यो पसलमा विभिन्न प्रकारका औषधि र जडीबुटी पोको–पोको पारेर दलिनमा झुन्ड्याएर राखिएको हुन्थ्यो । पोकोमा कुनै नाम लेखिएको हुँदैनथ्यो, तर कुन पोकोमा के छ भन्ने पसलेलाई कण्ठै हुन्थ्यो । ‘तर पछि पसलमा बस्नेहरूलाई ती औषधिको नाम, त्यसको काम र त्यो बनाउने मात्राबारे जानकारी हुन छोड्यो, त्यसैले पसलमा त्यस्ता सामान बेच्न पनि छोडियो,’ विदेहवीरसिंह तुलाधर भन्छन् ।
अहिले उनको पसल धूप, बत्ती र मसलाको बनेको छ । विदेहलाई थाहा भएअनुसार, यस पसलमा कुनै बेला उनका हजुरबुबाका पनि बुबा बाबुकाजी तुलाधर बस्ने गर्थे । तथापि पसल बाबुकाजीभन्दा पनि पुरानो हो भन्ने उनले पनि सुनेका छन् । बाबुकाजीपछि दानवीरसिंह तुलाधर पसलमा बस्न थाले, जो प्रसिद्ध सितारवादक तारावीरसिंह तुलाधरका पनि बुबा हुन् । दानवीरपछि चित्तवीर र चित्तवीरपछि हाल विदेहवीर यो पसलमा बस्छन् ।
तुलाधरद्वयका यी पसलहरूको मुख्य काम केवल सामान बेच्ने हो । तर, परोक्षबाट हेर्ने हो भने यी पसलले सामान मात्रै बेचिरहेका छैनन्, तत्कालीन काठमाडौंको सामाजिक इतिहास पनि अहिलेका मानिसलाई बताइरहेका छन् । वीरेन्द्र तुलाधरको पसल त्यतिबेलादेखि नै स्थानीय वायुदेवता गुठीको घरमा भाडा लिएर चलाइएको थियो । तुलाधरसँगैको पसले लाल साहुले श्री वायुदेवता गुठीका गुठियार चौतरिया देवीप्रसाद शाहलाई पसलको भाडा तिरेको एउटा रसिदअनुसार, यो पसल सञ्चालनमा रहेकै १२० वर्षभन्दा बढी समय भइसकेको छ । विसं १९५७ वैशाखमा काटिएको उक्त रसिदअनुसार, उतिबेला यो पसल–कवलको भाडा प्रतिवर्ष रु. ५० रहेछ । प्रत्येक ६ महिनामा एक पटक रु. २५ तिर्ने व्यवस्था गरिएको थियो ।
उबेला काठमाडौंको न्युरोडमा पनि स्थानीय मानिसको घरमा पसल–कवल निकाल्ने चलन थिएन । घरको छिँडीलाई पसल बनाएर व्यावसायिक काममा प्रयोग गर्ने चलन असनमै मात्र थियो । त्यसैले असनमा छिँडी–कोठाको पनि ‘मार्केट भ्याल्यु’ हुन्थ्यो । अरू ठाउँमा छिँडीमा पराल, दाउरा भण्डारण गरिन्थ्यो वा ढिकी चलाइन्थ्यो । तर, असनका छिँडी–कोठामा सामान बिक्री वितरण हुन्थ्यो । काठमाडौंमा घरको कोठा वा पसल भाडामा दिने चलन उतिबेला खासै थिएन । त्यसको सट्टा कसैलाई चाहिए घरको छिँडी–कोठा पूरै नामसारी गरेर बेच्ने चलन थियो । वीरेन्द्र तुलाधरलाई सम्झना भएअनुसार, त्यस्ता पसल–कवलको आकार हेरी प्रति–कवल पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्ममा बिक्री हुन्थ्यो । त्यसैले असनमा अहिले पनि त्यस्ता घर प्रशस्त छन्, जहाँ छिँडीको पसल एउटा मान्छेको, माथिल्लो तल्ला अर्को मान्छेको र त्योभन्दा पनि माथिको तल्ला फेरि अर्कै मान्छेको नाममा हुन्छ । कतिपय ठाउँमा त एउटै घरको फरक तलामा जान भर्‍याङसमेत छुट्टाछुट्टै राखिएका हुन्छन् । तल्लैपिछे फरक मान्छेका नाममा रहेका यस्ता घर असनबाहेक असन टोलसँगैको बालकुमारी, केलटोल र इन्द्रचोकमा
पनि छन् ।
पहिले–पहिले त समस्या थिएन, असनको महत्त्व बढ्दै गएपछि त्यस्ता घर फेरि बनाउनुपर्दा अहिले घरका कोठा–धनी र पसल–धनीबीच मारामार पर्ने गरेको सुनाउँछन् असन वडा नं. २७ का वडाअध्यक्ष चिनियाँमान वज्राचार्य । उनका अनुसार, यही समस्याले अहिले असनका कतिपय घर पुरानो भइसक्दा पनि फेरि निर्माण गर्न नसकिने अवस्था छ ।
असन र यसवरिपरिका घरका तलाहरू नै एकअर्कालाई बेच्ने त्यो चलन अहिले आधुनिक युगमा चलेको अपार्टमेन्ट प्रणालीसँग मेल खान्छ । काठमाडौंमा अपार्टमेन्ट प्रणाली भर्खरै सुरु भएको छ, त्यो पनि विदेशीको नक्कल गरेर ! तर, असनमा भने हाल आधुनिक मानिएको अपार्टमेन्ट किनबेचजस्तै तल्ला किन्ने चलन सय वर्षअघि नै प्रचलनमा आइसकेको थियो ।
भोटाहिटी (अहिले साझाको भवन रहेको ठाउँ) मा अन्नपूर्णको द्यःछें (देव घर) छ । त्यस देव घरबाहिरको पाटीमा अहिले पसल राखिएको छ । पहिले त्यो खुला ठाउँ थियो, त्यहाँ समयमै घर पुग्न नपाएका व्यापारी र बटुवाहरू एक रातका लागि बास बस्थे । अहिले भर्खरै सार्वजनिक भएको एउटा पुरानो तस्बिरमा साझा भवनको सामुन्ने एउटा पाटीसमेत देखिन्छ । यातायातको तीव्र विकासले अहिले कुबेला घर पुगिएला भन्ने डर रहेन । असनलगायत काठमाडौंका विभिन्न ठाउँमा बनाइएका धेरै पाटी र सत्तल अहिले पसल–कवलमा बदलिएका छन् । त्यसमाथि असन त अहिले त्यस्तो ठाउँ बनिसकेको छ, जहाँ मन्दिर, डबली, सत्तल, बाटो, पाटी जे छ ती सबै नाम मात्रैका बनेका छन्, काममा त ती सबै फरक प्रकारको ‘पसल कवल’ नै हुन् ।
असनमा उतिबेला पनि पसलहरू धेरै थिए । तर, तिनका प्रकार भने सीमित थियो । जस्तो मसला, औषधि पसल एक प्रकारको हुन्थ्यो भने चामल, चिउरा, पिठो, दाल र गेडागुडीको अर्को प्रकारको पसल हुन्थ्यो । त्यस्तै घिउ, तेल र चाकुको फेरि अर्कै पसल हुन्थ्यो । मासु पसल अलि बाहिरैपट्टि राख्ने चलन थियो, त्यसैले अहिले पनि असनमा मासु पसल छैन । भक्तपुर, ठिमीका किसानहरू तरकारी, चामल, चिउरा, गेडागुडीजस्ता स्थानीय उत्पादनका सामान बोकी एकाबिहानै हिँड्थे र हिँडेरै असन पुग्थे । ती सामान बेच्ने काठमाडौंमा असनबाहेक अर्को ठाउँ थिएन ।
असनमा चामल, दाल, चिउरा आदि बेच्ने पसल बढी मात्रामा भोटाहिटी, कमलाछी जाने बाटोतिर थियो भने घिउ, तेल, चाकु बेच्ने पसल अन्नपूर्ण मन्दिर पछाडि थियो । त्यहाँ पनि ५–६ पुस्तादेखि नै यिनै सामग्री बिक्री हुँदै आइरहेको छ । तथापि अहिले मैनबत्ती, च्युरी घिउ, प्याकेटवाला तेल आदि नयाँ सामान पनि थपिएका छन् ।
काठमाडौंको हल्चोकबाट स्थानीय पुतुवारहरू डोका र डालाभरि फूल लिएर त्यो पुरानो समयमा पनि असन नै आउँथे । असनका स्थानीय मानिस उनीहरूसँग फूल लिन्थे, त्यसबापत चामल दिएर पठाउँथे । फूल किनबेच गर्ने चलन उतिबेला थिएन ।
काठमाडौं र ल्हासा (तिब्बत) बीचको व्यापार पनि त्यतिबेला तीव्र गतिले चलिरहेको थियो । ल्हासामा व्यापार गर्ने स्थानीय नेवाः व्यापारीको मुख्य बासस्थान पनि असन र त्यही वरिपरि थियो । त्यसैले असनमा ल्हासाबाट ल्याइने सामान पनि किन्न पाइन्थ्यो । खास गरी ल्हासाबाट काठमाडौं आउने भोटेहरूले बख्खुभित्र पाँचऔंले, मुस्लीजस्ता विभिन्न हिमाली जडीबुटीहरू राखेर ल्याउँथे । उनीहरूले लिएर आउने ती औष्धि पनि असनमा किन्न पाइन्थ्यो ।
असनमा शताब्दीअघि बेचिने ती सामानहरूबाटै थाहा पाइन्छ– काठमाडौंका भान्छाहरूमा त्यस समय के पाक्थ्यो ? त्यसबेला काठमाडौंमा खाजाका रूपमा खाइने कुरा सीमित थिए । कि घिउ, चिउरा मुछेर र त्यसमा सख्खर राखेर खाइन्थ्यो !
कि रक्सीसँग चिउरा मुछेर खाइन्थ्यो । अरू खाजा भित्रिसकेको थिएन । जाडोयाममा सुपमा पिठोको डल्लो पकाएर ‘ग्वार्चा’ खाइन्थ्यो । वास्तवमा असन तत्कालीन नेपाली समाजको भान्छा र खानपिन सभ्यता पढ्न सकिने एउटा स्कुल हो । त्यो प्रतिविम्ब देखिने ऐना पनि हो ।
त्यतिबेला असनमा खासै भीड हुँदैनथ्यो । पसलेहरू बिहानै ६ बजे पसल खोल्थे । दिउँसो १२ बजेतिर खाना खान जान्थे । खाना खान जाँदा पसल बन्द गरिँदैनथ्यो । उनीहरू पसलको ढोकामा एउटा कपडा झुन्ड्याएर वा आधा खापा ढप्काएर जान्थे । खाना खाएर, एक निद्रा सुतेर पसल फर्कंदा ३–४ बज्थ्यो । त्यसपछि फेरि व्यापार सुरु हुन्थ्यो । र, राति ७–८ बजेतिर मात्रै पसल बन्द गरिन्थ्यो । दिउँसो पसल आधा खोलेर घर जाँदा पनि चोरी, लुटपाटजस्ता घटना हुँदैनथे । ढोकामा एक टुक्रा कपडा झुन्ड्याएपछि बुझिन्थ्यो– त्यो ‘लन्च ब्रेक’ को समय हो ।
त्यतिबेला बजारमा रुपैयाँ होइन, पैसा मात्रै थियो । सामान किन्न आउने ग्राहकहरू एक पैसा, दुई पैसा, पाँच पैसाका सामान किनेर फर्किन्थे । सामान पनि पैसामै पाइन्थ्यो । दिनैभर व्यापार गर्दा पनि संकलन हुने जम्मा पैसा २० देखि ३० रुपैयाँसम्म मात्रै हुन्थ्यो । पैसा बरु चाँदी, तामा वा पित्तलको ढ्याक हुन्थ्यो । दसैं, तिहारजस्ता ठूला पर्वमा दिनको ५०० देखि ६०० सम्म व्यापार हुन्थ्यो । त्यो भनेको त्यतिबेलाको निकै ठूलो कारोबार मानिन्थ्यो ।
असनका पुराना पसलहरूको सम्झना गर्दा पुरानै मान्छेहरूले सम्झिने एउटा अनौठो पसल हो– ढिके नुनको पसल । पहिले यो पसल अन्नपूर्ण देवीसँगै राखिएको थियो । अहिले त्यहाँबाट सरेर थोरै पर राख्न थालिएको छ । असनमा यो एउटा यस्तो पसल हो, जो न बन्द गर्नुपर्छ, न खोल्नुपर्छ । यो पसलमा सामानको नाममा नुन राख्ने एउटा काठको ठूलो अटल (बाटाजस्तो ठूलो भाँडो, अथः) बाहेक अरूअरू केही छैन । बन्द गर्दा कपडाले छोपेर हिँड्ने हो, खोल्ने बेला कपडा निकाल्ने हो । तर, यो पसल खुलेको कति भयो कसैलाई थाहा छैन । हाल पसल चलाइरहेका सुवर्ण श्रेष्ठ (६७) का अनुसार, यो ६ पुस्ताभन्दा पुरानो पसल हो । पहिले यो पसलमा उनका श्रीमान् बस्ने गर्थे । श्रीमान् बितेपछि उनैले पसल चलाइरहेको पनि ३० वर्ष पूरा भइसक्यो । नुन राखेर बेच्ने काठको अटल (भाँडो) नै करिब २०० वर्ष पुरानो मानिन्छ । २०० वर्ष अघिदेखि यो परिवारले एउटै भाँडोमा नुन राखेर बेचिरहेको छ । एक पटक एक जना विदेशी उनको नुन होइन, नुन राख्ने भाँडो किन्न आएका थिए । तर, एक लाख रुपैयाँसम्म दिन्छु भन्दा पनि सुवर्णले मानिनन् । किनभने त्यो केवल नुन राख्ने भाँडो थिएन, सुवर्णको सम्पूर्ण पसल थियो ।
काठमाडौंमा प्याकेटवाला ‘आयो नुन’ आएपछि ढिके नुनको चलन हटेर गएको थियो । मान्छेले ढिके नुन किन्नै छोडिसकेका थिए । तर, मान्छेले किन्नै छोडिसक्दा पनि सुवर्णको परिवारले बेच्न छोडेनन् । यो पसलप्रति उनीहरूको असाध्यै मोह थियो । तर, अहिले ढिके नुन खाने चलन फेरि बढेको छ । खास गरी उच्च रक्तचाप, मधुमेह आदि रोगलाई ढिके नुन फाप्छ भनिएकाले अहिले दिनकै चार–पाँच बोरासम्म नुन बिक्री हुने सुवर्ण बताउँछिन् । अहिले काठमाडौंमा ढिके नुन किन्न पाइने एउटै बजार असन हो । असनलाई ‘नुनदेखि सुनसम्म किन्न पाइने’ बजार जो भनिन्छ । यसमा सुवर्ण श्रेष्ठको नुन पसलको पनि ठूलो योगदान छ ।
तर, अब यो पसलको भविष्य के हुन्छ कसैलाई थाहा छैन । सुवर्णका कुनै सन्तान छैनन् । आफन्तसँग सम्पर्क छैन । त्यसैले आफूपछि यो पसल कसले हेर्छ भन्ने प्रश्नमा सुवर्णसँग कुनै जवाफ छैन ।
असन बजार कहिलेदेखि यति गुलजार बन्यो, त्यसको कुनै प्रामाणिक इतिहास पाइँदैन । किनभने यो कसैले शिलान्यास गरेर बसाएको बजार होइन, आफैं ‘उत्पत्ति’ भएको बजार हो । लिच्छविकालीन इतिहासमा पहिलेका ग्राम (गाउँ) हरू पछि ‘द्रङ्ग’ (नगर) बनेका उदाहरण प्रशस्तै छन् । जस्तो थानकोट, बलम्बु, सतुंगल, हाँडीगाउँ, देवपत्तन आदि । तिनमा असनको नाम कतै उल्लेख छैन । बरु असनसँगैको ‘कोलियग्राम’ पछि ‘द्रङ्ग’ बनेको पाइन्छ । लिच्छविकालीन कोलियग्राम नै अहिलेको केल टोल (सेतो मछिन्द्रनाथ मन्दिर क्षेत्र) मानिन्छ । उतिबेलै ‘द्रङ्ग’ बनिसकेका कतिपय बजारहरू बीचमा कता हराए, थाहा छैन । तर, असन भने जतिबेला जाग्यो, उतिबेलादेखि जागेको जाग्यै छ । बीचमा कहिल्यै जाग्न छोडेको वा हराएको इतिहास छैन असनको ।
‘हराएको छैन’ भन्नुको अर्थ बजार मात्रै होइन, ती बजारमा पाइने सामान र बजारको चरित्र पनि हो । काठमाडौंका विभिन्न ठाउँहरूमा अहिले नयाँ–नयाँ ग्लोसरी पसल खुल्न थालेका छन् । एउटा पसलमा छिरेपछि अन्त जानुपर्दैन । तर, ग्लोसरी पसलहरूको भीडले पनि असनको भीडलाई कम गर्न सकेको छैन । असनका पसलमा पनि अहिले नयाँ–नयाँ उत्पादनहरू देखा पर्न थालिसकेका छन् । समयले खोजेपछि असनले त्यो बेच्नैपर्छ । तर, ती नयाँ उत्पादनको किनबेच भने असनको आफ्नै शैलीमा हुनेगर्छ । ती उत्पादनको विनिमय चरित्र असनमा अहिले पनि त्यही छ, जसरी शताब्दी पहिले हुने गर्थ्यो । असनको बजार व्यवस्थापन र यसको व्यापारिक स्वभावले शताब्दी पहिलेको ‘फ्लेवर’ लाई अहिले पनि छोड्न सकेको छैन । यहाँ बिक्री–वितरण हुने हरेक वस्तुमा असनको गन्ध आई नै रहेको हुन्छ ।
काठमाडौंमा मल्लकालीन समयमै दोलखा भेगबाट राडीपाखी, चावर, घोडा, साँगा, भेडा, बाज, बँदेल, भोटेकुकुर, माछा, सल्लाको खोटो, बाघको छाला, कस्तुरी, पाँगा, ज्याफुस, नाम्जा, छत्रकुसा, नंबु (ऊनी कपडा), खाने तेल, ताउली (भाँडो), घ्यू, कुराउनी आदि सामान आयात हुन्थे (‘काठमाडौं उपत्यकाको मध्यकालिक आर्थिक इतिहास’, रमेश ढुंगेल, ऐश्वर्यलाल प्रधानांग ः २०५६) । तर, यी सामान काठमाडौं पसेपछि बिक्री–वितरण गरिने ठाउँचाहिँ कहाँ हो ? यसबारे कतै उल्लेख छैन । यति धेरै सामान आयात भएपछि त्यसको विनिमय हुने कुनै न कुनै स्थान पक्कै हुन्थ्यो ।
उपत्यकाले बाहिरबाट मात्रै सामान आयात गर्दैनथ्यो, आफ्नै नगरमा पनि विभिन्न सामग्री उत्पादन गर्थ्यो । कृषि उतिबेलाको प्रमुख उत्पादनको स्रोत हो । त्यसपछि धागो, कपडा, तेल, माटाका भाँडा, धातुका सामग्री आदि वस्तु यस सहरमा उत्पादन हुन्थे । ती सामग्री उत्पादन गर्ने जाति नै बेग्लाबेग्लै हुन्थे । अहिले ती जातिहरूले आफ्नो पुर्ख्यौली काम नगरे पनि उनीहरू यही सहरमा छन् र जाति पनि कायम छ । उनीहरूले उत्पादन गरेका ती सामग्री बेचबिखन गर्न मध्यकालको पूर्वाद्धदेखि नै उपत्यकाका विभिन्न ठाउँमा हाटबजारहरूको व्यवस्था गरिएको गोपाल राजवंशावलीमा उल्लेख छ । त्यस्ता हाटबजारमा स्थानीय व्यापारी मात्र होइन, कश्मीरी मुसलमान व्यापारीसमेत आफ्ना सामानहरू बेच्ने गर्दथे (उही) । त्यस्ता हाटबजारमा नुन, चामल, तेल आदि सामग्री बिक्री हुने गरेको पनि उल्लेख छ ।
मध्यकालमा काठमाडौं आएका कपुचीन पादरीहरूले काठमाडौंमा आफूहरूले तेल, मासुजस्ता सामग्री पसलबाट किनेको भनी आफ्ना केही पत्रहरूमा उल्लेख गरेका छन् । यसबाट थाहा हुन्छ– काठमाडौंमा पसल र बजारको अस्तित्व मध्यकालको पूर्वार्द्धमै थियो । तर, त्यो बजार कहाँ हरायो ? यदि त्यो बजार अहिलेसम्मै छ भने कहाँ छ ? त्यो कुन बजार हो ? यी प्रश्नमा नेपालको आर्थिक इतिहास मौन छ । सायद इतिहासको यो मौनता चिर्न असन बजारले पो केही बोलिरहेको छ कि, जो हामी सुन्न सकिरहेका छैनौं ?

Page 14
कोसेली

'कलिजुगमा केको तपस्या ?’

- सम्झना वाग्ले भट्टराई

सानो छँदा गाउँमा मनोरञ्जनका साधन ज्यादै सीमित थिए । गाउँमा बिजुली आएको थिएन, त्यसैले टेलिभिजन हुने कुरै भएन । रेडियोका कार्यक्रमहरू केटाकेटी लक्षित थिएनन् । सुत्नेबेला धेरैजसो आमा र कहिलेकाहीँ बाले सुनाउने लोककथा नै मनोरञ्जनको अडिलो आधार थियो । ‘स्वस्थानी’ पढ्ने दिनहरूमा एकजनाले सस्वर पढ्ने र घरका सबैले सुन्ने चलन थियो । खासै नजाने पनि हामी केटाकेटी पढ्न तम्सिन्थ्यौं र त्यो समय उत्सवजस्तै लाग्थ्यो । कुनै–कुनै वर्ष खेतबारीमा खासै काम नहुने हिउँदका पछिल्ला दिनहरूमा ‘रामायण’–‘महाभारत’ का किताब पढ्ने गरिन्थ्यो । ‘स्वस्थानी’ को किताब घरमा थियो । तर, ‘महाभारत’–‘रामायण’ का किताब माथ्लाघरे ठूलोबाकहाँबाट ल्याइन्थ्यो र तीन/चार घरका मान्छे जम्मा भएर सुनिथ्यो, त्यहाँका कथा ।
‘स्वस्थानी’ वर्षैपिच्छे पढिने भएर पनि हो कि ममा त्यसको प्रभाव बढी परेको थियो । त्यस किताबमा धेरै प्रसंग भए पनि सोलोडोलोमा मैले त्यतिबेला बुझेको विषय यत्ति थियो– ‘कथामा राक्षस हुन्थ्यो, उसले लामो समयसम्म कठोर तपस्या गरेपछि अजेय हुने वा त्यस्तै ठूलो शक्ति आर्जन गर्थ्यो र त्यसै शक्तिको आडमा देवताहरूलाई दुःख दिन्थ्यो ।’ देवताहरूले पनि ब्रह्मा, विष्णु, महादेव आदिको तपस्या गरेर शक्ति आर्जन गर्थे वा आफ्नो वैभव फिर्ता लिन्थे ।
तपस्या र वरदान प्राप्तिका कथाले मेरो केटाकेटी मनमा गहिरो प्रभाव पारेको थियो । तपस्या गरेर अजेय हुने भावनाले मनमा स्थान बढाउँदै थियो । तर, तपस्या गर्न जाने कहाँ ? कसरी पुग्ने हिमालयसम्म ? यस्ता कुरा मनमा आउँदा घरमाथिको जंगलमा भएको ठूलो ढुंगाको अक्कर सम्झिएँ । बाख्रालाई घाँस काट्न हिँडेकी आमाको पछिपछि जंगल जाँदा देखेको थिएँ त्यो ढुंगा । मलाई लाग्यो, पानी पर्दा ओत लाग्न पनि मिल्ने त्यो अक्कर नै तपस्या गर्ने उपयुक्त स्थान हो ।
मनमा धेरै दिनसम्म कुरा खेलाएपछि एक शनिबार बिहानै कसैलाई केही नभनी म घरबाट हिडेँ । सायद आमा गोठतिर के–के काम गर्दै हुनुहुन्थ्यो, अरू कोही उठेकै थिएनन् । म सरासर त्यही अक्करमा पुगेँ र पलेँटी कसेर बसेँ । तपस्यामा के गर्छन् त थाहा थिएन, तर पनि एकोहोरो ‘ॐ नम शिवायः’ मनमनमा दोहोर्‍याउँदै आँखा चिम्लेर बसिरहेँ ।
त्यसबेला ९ वर्षकी थिएँ, चार कक्षा पढ्थेँ । घाम चर्किंदै गयो, बेस्सरी भोक लाग्न थाल्यो । तर, तपस्या कठोर हुन्छ, सामान्य भोक लाग्दैमा आत्तिनु हुन्न भन्ने मलाई बोध थियो । जाडोमा हिमालयमा गएर र गर्मीमा पञ्चाग्नी तापेर तपस्या गर्छन् भनेर जो सुनेकी थिएँ । त्यसै विश्वासमा भोकको औडाहा एकै छिनमा हराएर गयो ।
पारिलो डाँडाको त्यो पहरोको अक्करमा ज्यादै गर्मी थियो (सायद गर्मी महिना सुरु भइसकेको हुनुपर्छ) । हाई–हाई आइरहेको थियो । कतिखेर निदाएछु पत्तै भएन । सतह नमिलेको ढुंगामा पल्टेर निदाएकाले होला बिउँझँदा गाला र घुँडा दुखिरहेको थियो । भोक, तिर्खा दुवै कडा थियो । यी सबका बाबजुद तपस्याप्रतिको प्रतिबद्धतामा कुनै कमी आएको थिएन ।
दिन ढल्दै गयो । अन्ततः साँझ पर्‍यो । अलिअलि हावा चलेको थियो । सुकेको सालका पातहरूले अनौठो आवाज निकाल्थे । भोक र तिर्खाको औडाहामा अब डर पनि थपियो । मैले आफूलाई रोक्न सकिनँ । र, जुरुक्क उठेर खुरुरु दौडिएँ घरतिर ।
म पुग्दा घर सामान्य थिएन । मलाई देख्नेबित्तिकै आमा रुन थाल्नुभयो । दाइ–दिदीले रिसाएर हेरेका थिए । थाहा भयो, म बिहानै घरबाट हराएपछि गाउँमा व्यापक हल्ली–खल्ली र सोधखोज सुरु भएछ । मेरा साथीका घरहरू, नजिकैको बजार र अन्य सम्भावित ठाउँमा पनि नभेटेपछि सबैको मनमा एउटै डरले स्थान बनाएको रहेछ । गाउँमा कतैबाट आएको एउटा हल्ला थियो– गाउँनजिकै कतै केटाकेटीको बलि दिन्छन् ! ‘लाने मान्छे आउँछ’ भन्थे । गाउँमा नौलो मान्छे देख्नेबित्तिकै केटाकेटीहरूको भागाभाग हुन्थ्यो । त्यसदिन म हराएपछि ठूला मान्छेको मनमा चिसो पसेछ– हल्ला कतै साँच्चै त भएन ? अझ त्योबेला बुवा कामको सिलसिलामा बाहिर कतै जानुभएको थियो । त्यसैले म घर पुगेपछि पनि सायद आमाले आफूलाई थाम्न सक्नुभएन । उमेर बढ्दै गएपछि थाहा पाएँ, त्यो हल्ला उडन्ते थियो ।
ठीक त्यति नै बेला ठूलीआमाको छोरा दिनेश दाइ घर आइपुग्नुभयो । घरमा पाहुना आएपछि सबैले केही नभएजस्तो गर्न थाले । र, म थप गाली खानबाट बचेँ ।
सामान्य कुराकानीपछि दाइले मलाई सोध्नुभयो, ‘दिउसो कता गएकी थिइस्, कान्छी ? बाख्रा चराउन ?’
मैले गर्वका साथ भनेँ, ‘तपस्या गर्न !’
म सबै कुरा भन्न हौसिँदै थिएँ । दाइले मेरो कुरामा खासै चासो नदिईकन भन्नुभयो, ‘तपस्या त सबैले गर्नैपर्छ कान्छी ! तैंले र दाइले पढ्न लेख्नमा तपस्या गर्ने र कक्षामा पहिला हुने ! आमाले खाना बनाउन र घाँस काट्न तपस्या गर्ने ! दिदीले आमालाई सघाएर तपस्या गर्ने ! बुबाले जागिरमा तपस्या गर्ने !’
त्यसपछि तपस्याको कुरा सकियो । दाइ आमासँग अरू गफ गर्न थाल्नुभयो ।
म भने झस्याङ्ग भएँ । मैले बुझेको तपस्या र दाइले भनेको तपस्याबीच निकै फरक थियो । म दाइले भन्नुभएको तपस्या–तर्कबाट प्रभावित भएँ । तपस्या कहाँ र कसरी गर्ने भन्ने मेरो द्विविधा अन्त्य भएझैं लाग्यो । मैले दाइको कुरा बुझेँ ।
भोलिपल्ट आमाले मलाई स्कुल पठाउनुभएन । र, हिजोबारे सोध्नुभयो । मैले सविस्तार बताइदिएँ । ‘छोरीमान्छेले कुनै तपस्या गर्दैनन् कान्छी ! तपस्या नै गरे पनि आफ्नो पति–सन्तानका लागि गर्ने हो । पार्वतीले पनि महादेव पति पाउन पूजा गरेकी हुन्, तपस्या होइन,’ आमाले दिक्क मानेर भन्नुभयो, ‘त्यो तपस्या पनि देउताको पालाको कुरो, सत्यजुगको । यो कलिमा केको तपस्या ? त्यै पनि आइमाई मान्छेले !’
आमाले कुरा टुंग्याउनुभयो, ‘अब एक/दुई वर्षमा दिदीको बिहे गर्दिने हो, त्यसको पाँच/छ वर्षमा तेरो । त्यतिखेरसम्म राम्रोसँग पढ् ।’
आमाको कुरा सुनेँ मात्रै, केही बोलिनँ । मेरो मनमा भने दिनेश दाइका कुरा खेलिरहेको थियो । आमाको कुरा झल्याँस्स सम्झेँ, ‘छोरीमान्छेले तपस्या गर्दैनन् कान्छी !’
किन गर्दैनन् छोरीमान्छेले तपस्या ? मैले मेरा कक्षाका केटाहरू सम्झेँ । दीपक, विक्रम, सुरेन्द्र, माधव– म कोभन्दा कम छु ? किन नगर्ने केटी मान्छेले तपस्या ? त्यसमाथि हाम्रो ‘क्लास फस्ट’ पनि केटी नै थिई– इन्दु । आमाको कुरा चित्त बुझेन । दिनेश दाइको कुरा नै ठीक लाग्यो ।
केही वर्षपछि ८ कक्षा पढ्दाको कुनै दिन कक्षाकै साथीको बिहे हल्लाको विषय बन्यो । हामीसँगै पढ्ने ज्योतिले भागेर बिहे गरिछ, नेपाल प्रहरीको हवल्दारसँग । त्यही दिन हो, अधिकारी सरले हामीसँग हाम्रो भविष्य र लक्ष्यबारे सोध्नुभएको थियो । केटाहरूले डाक्टर, इन्जिनियर, वकिल, ब्रिटिस आर्मी यस्तै–यस्तै भन्दै थिए । सर केटीहरूतर्फ फर्कनुभयो । राधिकाले डाक्टर बन्ने लक्ष्य सुनाई ।
‘बन्छेस् डाक्टर ! तँलाई झ्याइँकुटी पार्न कुनै पुलिस स्कुल वरिपरि घुमिराको होला । होइन भने पनि एसएलसी दिएको वर्षै बिहे गर्दिन तेरै बा–आमाले कोही केटा ठिक्क पार्लान् । अनि कसरी हुन्छेस् डाक्टर ?’ अधिकारी सरले कुरा टुंग्याए । राधिकाको अनुहार कालो–नीलो भएको थियो । अरू केटीहरूले पनि मुन्टो निहुर्‍याएका थिए, उनीहरूको बोली बन्द भएको थियो । केटाहरूको हाँसोले भने कक्षा थर्किरहेको थियो ।
अधिकारी सरसँग कक्षामा भएको छलफल मेरो मनमा गढेर बस्यो । राधिका र म दुवै जना कक्षामा औसत विद्यार्थी थियौँ, गाउँ पनि एउटै । भविष्यमा गणित–शिक्षक बन्ने लक्ष्य थियो मेरो । के सरले भनेजस्तै कुनै प्रहरी स्कुल वरिपरि घुमिरहेको छ मलाई भगाउन ? कि एसएलसी दिएको वर्षै बिहे गरिदिन आमा–बाले कुनै केटा खोजिरहनुभएको छ ?
छ/सात कक्षाबाट मैले पढाइमा अलि ध्यान दिन थालेको थिएँ । र, पढाइ पनि सुध्रिएको थियो । तर, सरको कुराले पढाइमा तपस्या गर्ने मेरो ध्यान खल्बलिएको थियो । हुन पनि गाउँमा धेरैजसो केटीको बिहे एसएलसी परीक्षाकै सेरोफेरोमा हुनेगर्थ्यो । तर, मलाई त्यति छिट्टै बिहे गर्नुथिएन । मलाई हाइस्कुलमा गणित पढाउने शिक्षक हुनु नै थियो । त्यसै दिन मैले सुरज सरसँग सोधेँ, ‘माध्यमिक विद्यालयको शिक्षक बन्न कति पढ्नुपर्छ ?’ सरले भन्नुभयो, ‘बीए पास गर्नुपर्छ !’ मैले प्रण गरेँ, ‘जे नै भए पनि बीए पास नगरेसम्म बिहे गर्दिनँ ।’

कोसेली

तः मुंज्या : रैथाने प्रतिपक्षी स्वर

- अभय श्रेष्ठ

 

हरेक सिर्जनाको आफ्नै खालको राजनीति हुन्छ । कतिपयले आफ्नो सिर्जनामा कुनै राजनीति नभएको दाबी गर्छन् । तथापि तिनको अराजनीतिकताले आफैंमा अर्को खालको राजनीति गरिरहेको हुन्छ । भक्तपुरमा प्रत्येक वर्ष हुँदै आएको नेपालभाषा साहित्य तः मुंज्याका आयोजकहरूले भने हाकाहाकी आफ्नो सम्मेलनलाई साहित्य र सांस्कृतिक कार्यक्रममार्फत किसान र मजदुरबीच जागरण ल्याउने अभियान भनेका छन् ।
नेपाल संवत् ११०० (विसं २०३७) देखि प्राचीन नगर भक्तपुरका विभिन्न भेगमा प्रत्येक वर्ष नेपाल संवत्को कौलाथ्व द्वादशी र त्रयोदशीमा तः मुंज्या (विशाल सम्मेलन) हुँदै आएको छ । नेपालभाषा, साहित्य, कला र संस्कृतिको संवर्द्धन एवं विकासका लागि भइरहेको प्रयासमा टेवा दिनु र त्यसमार्फत मजदुर, किसानहरूलाई जागृत गर्नु सम्मेलनको ध्येय हो । विजया दशमीपछिको द्वादशी र त्रयोदशी अर्थात् असोज ३१ र कात्तिक १ गते यसपालि भक्तपुर देकोचामा भएको ४१ औं सम्मेलनमा यसले समाजमा व्याप्त असमानता, व्यवस्थाका विकृति र सङ्कट, अन्याय, अत्याचार, खतरामा पर्दै गएको देशको सार्वभौम सत्ता, देशको सीमा अतिक्रमण र एमसीसी सम्झौताको प्रतिरोधमा केन्द्रित गरेको थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष गणेशराम थुसाले एक अन्तर्वार्तामा भनेकै थिए, ‘तः मुंज्या कामदार वर्गको साझा डबली हो । यसको उद्देश्य साहित्य र संस्कृतिमार्फत कामदार वर्गको जागरण र उत्थान हो । त्यसैले त स्थापनाकालदेखि नै यसले ‘जनता म्वासा भाषा म्वाई’ (जनता बाँचे भाषा बाँच्छ) नारा तय गरेको छ ।’

जैविक नगरमा साहित्य उत्सव
भक्तपुर नगरलाई प्राचीनताको अजायब घर भन्दा फरक पर्दैन । खासमा यो मौलिकता सुरक्षित रहेको एक जैविक नगर हो । मल्लकालीन दरबार क्षेत्रमा प्रवेश गर्ने हो भने आज पनि झन्डै तीन सय वर्षअघिको मल्लकालसँग साक्षात्कार गर्न सकिन्छ । दुई–दुइटा महाभूकम्प थेगेर पनि यहाँको प्रसिद्ध
ङ्यातापोल (पाँचतले मन्दिर) कसरी सुरक्षित
रह्यो ? वास्तुकलाको औपचारिक शिक्षा नै नभएको युगमा निर्मित ङ्यातापोलको वास्तुकला आधुनिक वास्तुकलाभन्दा किन उत्कृष्ट थियो ? यी गम्भीर खोज र अनुसन्धानका विषय हुन् । नगरपालिकाले सस्तो, सुलभ र स्तरीय कलेज तथा अस्पताल स्थापना गरेको छ । देशमा एउटा आधारभूत चिकित्सक उत्पादन गर्न कम्तीमा ६० लाख रुपियाँ खर्च हुन्छ । भक्तपुर नगरले भने ख्वपः विश्वविद्यालय स्थापना गरेर १० लाख रुपियाँले चिकित्सक उत्पादन गर्ने योजना बनाएको छ, जसलाई मेडिकल माफियाको जालमा परेर सरकारले स्वीकृति दिएको छैन । सम्पदा र मौलिक संस्कृतिमा त यो अत्यन्त धनी सहर हुँदै हो । इँटा वा समथर ढुङ्गा बिच्छाइएका यहाँका सडक, दाःछी इँटाले बनेका कलात्मक झ्यालयुक्त घर, तेली इँटा बिच्छाइएका मन्दिर र घर परिसर अनि माटोका कलात्मक भाँडाले अहिले पनि हामीलाई मल्लकालीन प्राचीनतासँग साक्षात्कार गराउँछन् । प्राचीनता जोगाउने मौलिक शैलीका घर बनाउन अनुदान दिएरै नगरपालिकाले प्रोत्साहित गरिरहेको छ । सिद्धपोखरी, कमलपोखरी, रानीपोखरी र सहरका टोल–टोलमा रहेका साना–ठूला पोखरी अनि सिनित्त सफा पारिएका सडक, चोक र गल्ली, हरेक बिहान टोलटोलमा गुन्जने दाःफा भजन, सालैभरि चलिरहने मौलिक चाडपर्व र जात्राहरू यसका सुन्दर गहना हुन् । समाजवादको मौलिक अभ्यास गरिरहेको यस नगरमा विगत ४१ वर्षदेखि नेपालभाषा साहित्य तः मुंज्या हुँदै आएको छ । नगरका उत्साहित जनतालाई सांस्कृतिक रूपले प्रशिक्षित गर्न र मजदुर, किसान वर्गको जुझारु आवाजलाई साहित्यमार्फत वाणी दिन तः मुंज्याले गरेको प्रयास मननयोग्य छ ।

विशाल जमघट
हरेकपल्ट खेतीपातीको काम सुरु हुन लाग्दा शरीरमा ऊर्जा भर्ने र सकिँदा उत्सव मनाउने चलन नै नेवारहरूको चाडका रूपमा विकसित भएका हुन् । दसैंकै बेला पर्ने उनीहरूको मोहनी नखः धानबाली भित्र्याउनलाई शरीरमा ऊर्जा भर्ने चाड हो । यही चाडको रमझमबीच भक्तपुरका जागृत किसान र बुद्धिजीवीहरू भने तः मुंज्यामा अभिरुचिपूर्वक सहभागी हुन्छन् । मिडियामा विस्तृत प्रचार पाएका ‘लिटेरेचर फेस्टिबल’ हरूमा श्रोताको सङ्ख्या सारै सानो हुन्छ । यहाँको श्रोता सङ्ख्या सधैं विशाल हुन्छ । माथि मञ्चमा कविले कविता सुनाउँदा होस् वा विशेषज्ञले विचार व्यक्त गर्दा हरेक क्षण १५ सयभन्दा बढी श्रोताले दर्शकदीर्घाबाट सुनिरहेका हुन्छन् । स्थानीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्नेको समेत हिसाब गर्ने हो भने श्रोताको सङ्ख्या अगणित हुन्छ । यो भव्य कार्यक्रम सम्पन्न गर्न स्थानीय आयोजक समितिले गर्ने मिहिनेत र तयारी सानो हुँदैन । यसपालि गणेशराम थुसाको अध्यक्षतामा अनिता जधारी, डा. सत्यनारायण सुवाल, कमला सिजख्व, चण्डेश्वरी याकामी, विष्णुकेशरी दुवाललगायतको बहुसङ्ख्यक आयोजक समितिले अथक मिहिनेत गरेको थियो, जसलाई आशाकुमार चिकंबन्जारको अध्यक्षतामा रहेको तः मुंज्या मूल गुथिले सघायो । जनसहभागिता बढाउने उद्देश्यले आयोजक समितिले सम्मेलनको पूर्वसन्ध्यामा सहरका टोल टोल परिक्रमा गर्दै सुकुन्दा र्‍याली गरेको थियो । आयोजकका हरेक प्रस्तुतिमा भक्तपुरको स्थानीय पहिचान कायम गर्ने प्रयास प्रशंसनीय थियो । कहाँसम्म भने अतिथि सत्कारमा समेत यःमरी, चःतामरी, मुस्या–पालु (कालो भटमास र अदुवा) र जुजुधौजस्ता नेवार संस्कृति झल्काउने खाद्य अनिवार्य राखिएका थिए ।
पूर्वन्यायाधिश गौरीबहादुर कार्की तथा अधिवक्ता कृष्णप्रसाद भण्डारीले भ्रष्टाचार, अनियमितता र अदालतमा हुने विसङ्गतिबारे तथ्यमूलक मन्तव्य राखे भने पत्रकार भैरव रिसाल तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको सीमा अतिक्रमण, एमसीसीको वास्तविकता र नेपाल सरकारले उठाउनुपर्ने मुद्दाबारे छर्लङ्ग पारे । डा. विश्वबन्धु शर्मा, डा. राजेन्द्र कोजू, डा. पुकारचन्द्र श्रेष्ठ, डा. सानुमाया श्रेष्ठ, डा. शम्भु पहाडी, डा. ऋषिकेशनारायण श्रेष्ठले स्वास्थ्य नीति र जनताले अपनाउनुपर्ने स्वास्थ्य सावधानीबार, डा. पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृतिबारे प्रस्ट पारे । अतिथि तथा स्थानीय साहित्यकारले रचना सुनाइरहे भने संस्कृतिकर्मीहरू सङ्गीत र नृत्य प्रस्तुत गरिरहे । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’, सङ्घीय सांसद प्रेम सुवाल, प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाई तथा सृजना सैंजूलगायत भक्तपुरका विशिष्ट व्यक्तित्व दर्शक दीर्घामा रहेर निरन्तर सुनिरहे ।

जैविक बुद्धिजीवीको अभिनन्दन
हल्लाको संसारमा कला र बुद्धिका असली साधकभन्दा नक्कलीहरू नै बढी चिनिन्छन् । तः मुंज्याले हरेक वर्ष त्यस प्रवृत्तिलाई तोड्दै आएको छ । यसपालि उसले कृषि विशेषज्ञ बाबुकाजी भोमी र सांस्कृतिक गुरुहरू कृष्ण सितिखु, न्हुच्छेकुमार अवाल, हरिभक्त सुवाल, हरिराम सुवाल, तुल्सी शाही र कृष्णप्रसाद दथेपुथेलाई तः मुंज्याको भव्य समारोहबीच अभिनन्दन गर्‍यो । खासमा देशले यस्ता रैथाने जैविक बुद्धिजीवीलाई चिन्दैन । हामी पनि चिन्दैनौं । मिडियाले पनि चिन्दैन । मिडिया सही पात्रको खोजी गर्दैन । ‘तिर्खा मेट्न खोला धाउने’ कमसल पात्रलाई नै ऊ हिरो बनाउँछ । यसले गर्दा कीरोहरू हिरो हुन्छन् । वास्तविक हिरोहरू मिडियामा जिरो हुन्छन् । कला–साहित्यको बजारमा सधैंजसो लफङ्गाहरूकै राज हुन्छ । ठूला मिडियामा हाँसको स्वर भएका गायक र कमजोर चेतनास्तरका लेखककै बढी प्रचार देखिन्छ । कलाचेत भएको कुनै व्यक्ति अध्ययन गर्न पस्यो भने उसले त्यहाँ केवल चर्चित व्यक्ति भेट्छ, लेखक वा कलाकार भेट्दैन । यस्तो बेला त.मुंज्याले देशका तिनै गुमनाम सांस्कृतिक गुरु र कृषि विशेषज्ञलाई अभिनन्दन गरेर कथित मूलधार प्रवृत्तिको खण्डन गर्‍यो ।

नेताले जनतालाई सुन्ने उत्सव
स्तरीय साहित्य लेखिए पनि अल्पमत भाषाका साहित्य राष्ट्रिय स्तरमा चिनिँदैनन् । कवितामा नेपालभाषाको उपलब्धि नेपाली भाषाको जत्तिकै छ । खोजी पस्दा मैथिली, भोजपुरी, थारू र अन्य भाषामा पनि यस्ता उदाहरण भेटिन सक्छन् । नेपाली साहित्य र कलाको वास्तविक रूप हेर्ने हो भने खस नेपाली भाषाबाहिर पनि पुग्नु अनिवार्य छ, जसरी विश्वको साहित्य, कलाको वास्तविक रूप हेर्न अङ्ग्रेजी भाषाबाहिर छिर्नु जरुरी छ । तः मुंज्याले नेपालभाषाबाहेक खस नेपाली, तामाङ, मैथिलीलगायत सीमान्तकृत भाषाका साहित्यलाई पनि समेटेर दिन खोजेको सन्देश यही हो । तर, भक्तपुरमा बर्सेनि हुने विराट् नेपालभाषा साहित्य सम्मेलन, नेपालभाषा साहित्य तः मुंज्याका खबर मुस्किलले मिडियामा आउँछन् । यिनले दिन खोजेको सन्देश भने सारा देशवासीले सुन्नु जरुरी छ । त्यहाँ प्रसिद्ध र नयाँ लेखकका रचना, विशेषज्ञका कुरा नेताहरू तल जनतासँगै बसेर धैर्यपूर्वक सुनिरहेका हुन्छन् ।

कोसेली

शंकरसँग संकट–संवाद

- अभि सुवेदी

मलाई भर्खरै एकैसाथ दुईवटा संकथन प्रस्तुत गर्नुपर्‍यो । पहिलो थियो, शंकर लामिछानेलाई म अहिलेको लेखनको परिस्थितिमा कसरी सम्झिन्छु ? दोस्रो थियो, लामो लकडाउनकालमा मैले के समालोचना लेखें ? संकथन लामै थिए, तर यहाँ शंकर लामिछानेको संकट सिद्धान्तलाई मात्र संक्षेपमा लेख्न चाहन्छु । लकडाउनमा मैले लेखेको समालोचनाबारे उल्लेख मात्र गरेको छु ।
अहिले नेपालमा लेखकहरूले सामना गर्नुपरेका द्वन्द्व र संकट भाषा प्रयोग र लेखन दुवैमा देखिएका छन् । साहित्य सिर्जनाका निम्ति यो चुनौतीपूर्ण अवस्था हो । सबैतिरका अनुभवले देखाएका छन्, संकटको पहिचान र सामना गरेर लेख्न सकियो भने त्यो साहित्यले केही भन्छ । होइन भने त्यसले कि त साहित्यकारहरूलाई अलमलमा पारेर यसोउसो लेखेर आफैं मख्ख पर्ने अवस्थामा पुर्‍याइदिन्छ कि त सुकाएर छोडिदिन्छ । प्रश्न गरौं, हामी लगभग अहिले त्यस्तै चुनौतीको स्थितिमा त छैनौं ? अर्को चुनौती हो हाम्रा मानसमा सिर्जना र कल्पनाहीन भाषा प्रयोगले पार्दै गएको प्रभाव । नेपालमा भाषा प्रयोगको जिम्मा राजनीति गर्ने र शक्तिको प्रतिस्पर्धा गर्नेहरूले लिएका छन् । तिनका भाषा मिडिया र जनबोलीमा पनि व्याप्त हुँदै गएका छन् । भाषाशास्त्रीहरूले तिनको विश्लेषण गरेको पढेको छैन । तर एउटा प्रसिद्ध दैनिकले अहिले तिनले प्रयोग गरेका र फैलाएका भाषिकाको सूची दिएर सम्पादकीय लेखेको पढें । शंकर लामिछाने साहित्यको यस्तो संकट र भाषिकाको प्रयोग विषयमा जानकार र सचेष्ट लेखक थिए । म शंकर लामिछानेसँगका संस्मरण र टिपोटको आधारमा उनीसँग भएका साहित्यमा संकट संवादबारे केही लेख्न लागेको छु ।
अनुभवभन्दा, मैले यो लामो लकडाउनको बेला केही लेखकहरूलाई लिएर स्मृति लेखन गर्दै आएको छु । केही छोटा प्रकाशित संस्मरणहरूमा छन्, केही प्रकाशित हुने क्रममा छन् । केही किताबभित्र लामा लेख र भूमिकाको रूपमा पनि प्रकाशित भएका छन् । त्यसो त शंकर लामिछानेका निबन्ध र लेखहरू विषयमा पहिला केही समालोचना लेखिसकेको छु । मैले यसरी अखबारमा शंकर दाइमाथि लेखेकामध्ये दुईवटा अखबारका लेखहरूको नाम राख्न चाहन्छु । ती हुन्
‘कान्तिपुर’ को ‘कोसेली’ (१५ माघ २०७३) मा प्रकाशित ‘लामिछाने र अर्वेलका निबन्ध ः विधाको अनौठो संवाद’ र ‘एब्स्ट्रयाक्ट चिन्तन’ को स्वर्णजयन्तीमा ‘लामिछानीय प्याज’ शीर्षकमा ‘नयाँ पत्रिका’ (२५ असोज २०७६) मा प्रकाशित लेख । ती दुवै दैनिक अखबारहरूमा प्रकाशित भएको कुराले अरू अर्थ खोल्छ । निकै वर्षदेखि हामी साहित्य समालोचना लेख्नेले साहित्यिक पत्रिका छोडेर अखबारमा लेख्न थालेका कथा छन्, जुन कुरा साहित्यमा चाख भएका अखबारका केही सम्पादकहरूको कारणले गर्दा सम्भव भएको हो । अहिले त लगभग अखबारहरूका केही स्तम्भहरूमा नै समालोचना विधा लेखिने गरेका छन् । यो एउटा अर्कै छलफलको विषय हो ।
मैले शंकर लामिछानेलाई अहिले सम्झेर लेख्नुपर्ने केही कारणहरूमध्ये तिनले गरेका कर्मको आफूले गरेको अनुशीलन एक हो । म निकै वर्षदेखि शंकर दाइले जस्तै अखबारहरूमा साहित्य विषयका कृति र विचार, चुनौती र जीवनमा प्रयोग विषयमा लेखिआएको छु । निकै लेखिसकेंछु, जुन मैले लेखेका ती लेखका केही सम्पादन गरेर प्रकाशित निबन्धसंग्रहका किताबहरूले देखाउँछन् । शंकर दाइका अखबारमा लेखेका लेखहरू किताबमा प्रकाशित भएपछि त्यो तरिकालाई साहित्यकारले अपनाउने प्रभावकारी विधि हो भन्ने निकै जना लेखकहरूलाई विश्वास भएको देखियो । दोस्रो कारण, संकटमा कसरी साहित्य लेख्ने भन्ने शंकर दाइको धारणा र अभ्यास हो । शंकर लामिछाने साहित्य संकटबाटै लेख्नुपर्छ भन्ने फ्रान्सेली लेखक अल्बेर कामुको विचारबाट प्रभावित थिए । उनले रूप–रेखा साहित्यिक पत्रिकाको अंक २४ वा २५ मा जस्तो लाग्छ, कामुको यो लेखलाई ‘सिर्जना गर, खतरनाक रूपबाट’ शीर्षक दिएर अनुवाद गरेर छपाएका थिए । शंकर दाइले त्यो बेला नै साहित्यले सामना गर्नुपर्ने विषयलाई बुझेर त्यो विचारको प्रयोग गरेको कुरा महत्त्वपूर्ण थियो । हैटी मूलकी अमेरिकी लेखक एडविज दान्तिकातले आफ्नो किताब ‘संकटबाट सिर्जना गर’ (२०१०) मा आफ्नो कठोर र संघर्षशील लेखनको अनुभवबारे लेख्दा कामुको यो सिद्धान्तको प्रयोग र व्याख्या गरेको कुरा पढ्दा शंकर दाइलाई सम्झिएँ । उनले धेरै पहिले नै नेपाली साहित्यमा त्यो विषयको प्रवेश गराएका थिए । शंकर दाइले मेरा प्रश्नका उत्तर दिँदा र आफैं साहित्य सिर्जनाको ‘खतरनाक’ रूपको मलाई व्याख्या गर्दा भनेका कुरा दान्तिकातका व्याख्यामा पढ्दा चकित परेको छु । अरू पनि धेरै लेख र ग्रन्थ लेखिएका छन्, तर यी लेखकको व्याख्याले मलाई शंकर दाइको त्यही बेलाको बोध गर्ने क्षमता सम्झाउँछ । दान्तिकात भन्छिन्, ‘खतरनाक रूपले पढ्नेका निम्ति खतरनाक रूपबाट लेख । मलाई लेखक हुनु भनेको त्यही हो भन्ने सधैं लागिरहन्छ । शब्दहरू जतिसुकै साधारण भए पनि कुनै दिन तिनलाई पढ्नेले जोखिम मोलेर पढ्छ ।’ लेख्नुजस्तै पढ्नुका पनि जोखिम हुने अवस्था हुन्छन्, जसका उदाहरण दिने यहाँ ठाउँ छैन ।
‘रूप–रेखा’ का सम्पादक उत्तम कुँवर ढोकाटोलको गुर्जुको एउटा घरको फराकिलो भाडाको फ्ल्याटमा बस्थे । म त्यहाँ बरोबर जाने गर्थें । त्यहाँ शंकर दाइलाई पनि भेट्थें । त्यो पटक उनले अनुवाद गरेर ‘रूप–रेखा’ मा प्रकाशित कामुको लेख ‘सिर्जना गर खतरनाक रूपबाट’ को विषयलाई मैले उठाएँ । उनले कामुको भनाइको सारतत्त्व यसरी राखे, ‘लेखक जस्तोसुकै विचार भएको होस् उसले जीवनको चित्रण गर्ने सहज बाटो मात्र देख्यो भने उसको लेखमा ज्यान हुँदैन । लेखन संकट संवाद पनि हो ।’ त्यसको केही वर्षपछि शंकर दाइसँग एउटा महत्त्वपूर्ण संवाद भयो । उनी त्यो बेला केही चर्चामा थिए । उनलाई कुमुदिनी नामधारी पाठकले उनका लेखनबारे कुरा उठाएको बेला थियो । शंकर दाइले
‘गोरखापत्र’ र ‘रूप–रेखा’ मा लेख्न छोडें भनेर लगभग उद्घोष नै गरेका थिए । लेखन र मौलिकता विषयमा उनले धेरै महत्त्वपूर्ण कुरा भने । पाठहरूको मौलिकता विषयमा शंकर लामिछानेले भनेका कुरा फ्रान्सेली दार्शनिक र समीक्षक जाक डेरिडाको पाठहरू पुनरावृत्ति हुन् भन्ने दर्शनसँग मिलेको कुरा मैले पोस्टग्य्राजुअट कक्षाहरूमा पटक पटक भनेर आएको छु । टिपोटहरू गरेको छु । मैले शंकर दाइलाई त्यो दिन धेरै कुरा सोध्ने अवसर पाएँ । कुनै बेला लेख्नु छ । पहिलो त उनको मुड नै त्यस्तै थियो । दोस्रो, मैले आफैं उनीबाट केही जान्ने अवसर थियो त्यो । मैले उनलाई पारिजातको शिरीषको फूल मा उनले लेखेको भूमिकाको भाव र विचारको कलेवरबारे प्रश्न गरें । उनको भूमिकावारे मार्क्सवादी लेखकका विचारका कुरा पनि उठे । उनको भूमिका बुझाउन शंकर दाइले मलाई अंग्रेजी उपन्यासकार लरेन्स डरेलको उपन्यास ‘जस्टिन’ को प्रसंग ल्याएर व्याख्या गरे । अंग्रेजी साहित्यको विद्यार्थी भए पनि मैले शंकर दाइले भनेको डरेलको यो उपन्यास पढेको थिइनँ । उनका चारवटै उपन्यास पढेँ । पछि जस्टिनबारे मैले उनलाई सुनाएँ । र, थप कुरा सुनें । डरेलको लेखनमा हेगेलको द्वन्द्वात्मक दर्शनका कुरा पनि उठे । लामो लेखमा साहित्यिक व्याख्या चाहिन्छ ।
अहिले शंकर दाइसँगको साहित्य विषय र चिन्तनलाई लिएर गरेको संकट संवाद सम्झनुको सन्दर्भ फेरि उठाएर लेख अन्त गर्छु । अहिलेको विश्वमा साहित्य लेखनमा सीमा, लडाइँ, अधिकार हनन, वातावरणको फटाफट विनाश, विभेद र निर्वासन अनि हत्या र युद्धको विभीषिकाको चित्रण गर्नु छ । भाषाको प्रयोगमा चुनौती आएका छन् । फेरि भाषा नै सबभन्दा ठूलो शक्ति भएर आएको छ, साहित्यमा । यो माथि छलफल
भएजस्तो ‘खतरनाक रूपमा सिर्जना गर’ भनिएको अवस्था हो । शंकर दाइले धेरै पहिले उच्चारण गरेको भाष्य थियो, यो ।

Page 15
कोसेली

त्रासद अन्तराल

- दिनमान गुर्मछान

 

जंगमको छोरो बेपत्ता भएको बीस वर्ष पुगिसक्यो !
सन्तान हराएको पिताको अवस्था कस्तो होला ! कल्पना गर्न जोकोही सक्छन् । छोरो हराएपछि जंगम त्यही अवस्थामा वर्षौंदेखि भौंतारिइरहेको थियो । देख्नेका मनमा ऊप्रति सहानुभूति पलाउँथ्यो । छोरो बेपत्ता भएको केही वर्ष त जंगमको होस ठेगानमै थिएन । उसमा एकदमै उदासी र व्यग्रता देखिन्थ्यो । बातैपिच्छे छोरोको कुरा गर्थ्यो, टिलपिल–टिलपिल आँखा लिएर । आफैंलाई सम्हाल्न कठिन भएका बेला श्रीमती पनि सम्हाल्नु झनै कठिन कुरा थियो । जंगम पिता मात्रै थिएन पति पनि थियो । पति हुनुको त्यही दायित्वबोधले उसले आफूलाई भन्दा पनि श्रीमतीलाई सम्हाल्नु जरुरी ठानेको थियो । श्रीमतीको रेखदेखमा समय दिँदादिँदै ऊ सम्हालिएको थियो । सँगसँगै छोराको पनि खोजी गर्नु उसको अर्को नियमित कर्म बनेको थियो ।
जंगमले छोरा खोजेको वर्षौं भइसक्यो । यसरी खोजिरहँदा प्राप्त गरेको निराशामा पनि उसले कहिल्यै हिम्मत हारेन । बेपत्ता छोरो एक दिन फर्केर आउँछ वा फेला पर्छ भन्नेमा उसलाई विश्वास थियो । आशा नै उसको हिम्मत थियो ।
...
प्रत्येक बिहान दस बजे बनेपाको तीनदोबाटो आइपुग्थ्यो– जंगम । सधैं उही समयमा, मनमा उही आशा, विश्वास र भरोसा लिएर ऊ काठमाडौंबाट आउने बसतिर हेरिरहन्थ्यो– तीनदोबाटोमा उभिएर ।
तीनदोबाटो बस–स्टप वरपर ठेलामा फलफूल बेच्नेहरूको घुइँचो हुन्थ्यो । घुइँचोमा बस कुर्नेहरू पनि थपिन्थे । जंगम घुइँचोमै मिसिन्थ्यो । बस कुरुन्जेल वरपरको वातावरण नियाल्थ्यो । भीडमा कोही हतारमा कुदिरहेका हुन्थे । कोही यताउता भौंतारिरहेका । कोही फुटपाथमा उभिएर गफ चुटिरहेका हुन्थे । अलिपरै फोहोरको डुंगुरमा केही बटुलिरहेको झुत्रे र झुस्स दाह्री पालेको कसैलाई देख्थ्यो ऊ । सबै व्यस्त थिए– भागदौडमै थिए । कुनै युवा देख्दा उसलाई छोरा सम्झना आइदिन्थ्यो । छोरो आफूसँगै भइदिएको भए अहिले कस्तो हुन्थ्यो ! ऊ अनुमान लगाउन खोज्थ्यो ।
बेपत्ता छोरोको सम्झनामा ऊ डुब्न थाल्थ्यो । छोरोको उमेरका केटाहरूलाई निर्निमेष हेरिरहन्थ्यो, जसले उसलाई झनै व्यग्र बनाउँथ्यो । छोरो अहिले के गर्दै होला ? उसले के खायो होला ? यस्तै सोचेर ऊ दुःखी हुन्थ्यो । पीडाको दहमा डुब्दाडुब्दै झन्डै–झन्डै तीनदोबाटोमा नरोकिएलाझैं गरी काठमाडौंबाट हुइँकिँदै बस आइपुग्थ्यो । बसको हल्लीखल्लीले ऊ एक्कासि ब्युझेझैं हुन्थ्यो । र, त्यो भीडमा आफूलाई सम्हाल्थ्यो । बसमा ‘धुलिखेल’ लेखिएको छ कि छैन, हेर्थ्यो जंगम । धुलिखेल लेखिएको रहेछ भने नजिकिँदै गरेको बसलाई आतुरिएको मनले स्वागत गर्थ्यो । र, बस रोकिएको ठाउँसम्म पुग्थ्यो । भीड छिचोल्दै जंगम बसभित्र उभिन्थ्यो र धुलिखेलसम्म पुग्थ्यो ।
यही उसको दैनिकी थियो ।
जिल्ला प्रशासन कार्यालयको गेटमा पुग्दा जंगमको मनमा एक किसिमको आशाले बास गरेको हुन्थ्यो । सधैं एउटा उज्यालो जिज्ञासा लिएर ऊ त्यहाँ पुग्थ्यो । उसलाई एउटा विवश बाबुको जिम्मेवारी र दुर्दशाले डोहोर्‍याएको हुन्थ्यो । जंगमको उपस्थिति सबैका लागि पूर्वपरिचित हुन्थ्यो । उसलाई कसैले सोध्दैनथ्यो– के कामले आउनुभयो ? ऊ सरासर सिडिओको कार्यकक्षमा पुग्थ्यो । उसै पनि बेपत्ताका परिवारलाई सीडीओ कार्यालयमा खासै रोकटोक हुँदैनथ्यो । त्यहीमाथि उसलाई अब सबैले राम्रैसँग चिन्थे ।
दुई हात जोड्दै जब ऊ सीडीओको कार्यकक्षमा पस्थ्यो, उसको मनमा आशाको दियोको मुस्लो ठूलो भइसकेको हुन्थ्यो । जंगम देख्नासाथ मुसुक्क हाँस्दै सीडीओ उसको मनोबल बढाउने कोसिस गर्थ्यो । देशको अवस्था र आफ्नो व्यस्तता पनि बताउन सीडीओ भ्याउँथ्यो । । र, अन्त्यमा हरेस नखान सल्लाह दिन्थ्यो, ‘तपाईंको छोरोको केही खबर छैन । हामी सक्दो प्रयास गरिरहेका छौं । हाम्रा अरू पनि काम छन् । केही समस्या पनि थपिएको छ । तपाईं ढुक्कसाथ घर जानुस् ।’ मृदु मुस्कानसहितको आफ्नो वाक् दक्षतामाथि सीडीओ मख्ख पर्थ्यो । उसको मुस्कानको हावाले जंगमको आशाको दियोचाहिँ पूरै निभाइदिन्थ्यो ।
जंगमको आँखामा भने श्रीमतीको अनुहार र उसले लिने पीरको झल्को आइदिन्थ्यो । वर्षौंदेखि छोरो फर्किने आशामा बाँचेकी श्रीमतीको नाजुक अवस्था सम्झेर ऊभित्र खिन्नभावले डेरा जमाउँथ्यो । आज पनि नाजवाफ फर्किनुपर्ने पीडाले उसलाई खान थाल्थ्यो अनि श्रीमतीको निन्याउरो अनुहारले पिरोल्थ्यो– श्रीमतीलाई कसरी सम्झाउने भन्ने पिरलो ! त्यसपछि जंगम सीडीओसँग बिदा मागेर बाहिरिन्थ्यो । बाहिरिँदा मन अशान्त भए पनि भोलिको आशा भने जागिरहेकै हुन्थ्यो ।
...
त्यसपछि जंगम सीधै सेवा केन्द्र पुग्थ्यो ।
छोरो हराएपछि जंगमले गाउँ छाडेको थियो । गाउँमा बसेर छोरोको खोजी गर्ने अवस्था थिएन । गाउँमै बसेर छोरो नभेटिने भएपछि उसले बनेपाको नयाँबस्तीमा डेरा लियो । त्यसपछि छोरोको खोजी धेरै ठाउँमा गर्‍यो । उसको दिनचर्या नै फिरन्ते जोगीको झैं भयो । अनेक हन्डर र पीडाले सताएको उसको मनले बेलाबेला उसलाई सामाजिक काम गर्न घचघच्याइरहन्थ्यो । लामो समयपछि उसले छोरोको खोजीसँगै सामाजिक काम गर्ने सोच्यो । मानसिक समस्या भएकाहरूका लागि स्याहार केन्द्र खोल्ने विचार गरेर घर भाडामा लियो । छोरो बेपत्ता भएपछि उसकी श्रीमतीमा मानसिक समस्या देखापरेकाले यस समस्यासँग ऊ परिचित थियो । यसैलाई उसको आत्माले सही निर्णय ठम्यायो ।
...
सदाझैं धुलिखेलबाट फर्किएपछि उसले छोरोको नाममा खोल्न लागेको सेवा केन्द्रका कोठाहरू नियाल्यो । कोठामा राखिएका फर्निचरमा कुनै कमजोरी छन् कि भनेर जाँच्यो । ओछ्याइएका तन्ना, झ्यालका पर्दामा नजर पुग्यो, जुन छोरोको मन पर्ने रङको थियो । उसले छोरोको यादमा यी रङलाई ध्यान दिएको थियो । कुनै दिन छोरो फर्केर आयो भने यो देखेर दंग पर्ने विश्वास जंगमलाई थियो । त्यसैले उसले छोरोको यादमा निर्माण गरेको सेवा केन्द्रमा निकै ध्यान दिएको थियो ।
यसरी सधैं सेवा केन्द्रका कोठाहरू नियाल्दा उसलाई छोरो एक दिन फर्किन्छ भन्ने विश्वासले झक्झक्याइरहन्थ्यो । तर, पिता न हो बेलाबेला छोरो कहाँ सुत्यो होला भन्ने पीरले निकै गिजोल्थ्यो पनि । त्यसैले ऊ ओछ्यानबिनै भुइँमै सुत्ने गर्थ्यो । छोरोले के खायो होला भन्ने पीर लिएर ऊ आधा पेटै बस्थ्यो ।
आफ्नो सन्तानलाई झैं रेखदेख गर्न भनी खोलेको सेवा केन्द्रमा बस्ने कसैले एक पित्को पनि दुःख नभोगून् भन्ने जंगमको मनसाय थियो । घरको मूलढोकामा मिलन सेवा केन्द्रको बोर्ड थियो । घर चारैतिर पर्खालले घेरिएको कुनै आश्रम हो भन्ने प्रतीत हुन्थ्यो । आँगनमा दुबोघाँस राम्रैसँग मौलाएको थियो । मौसमी फूलहरू फक्रिरहेका थिए । लाग्थ्यो, यो कुनै बगान हो । घाम ताप्दै जंगमकी श्रीमती बाहिर बसेकी थिई । ऊ घरी घरका भित्तातिर नजर डुलाइरहेकी हुन्थी घरी मूल ढोकातिर । छोरो बेपत्ता भएदेखि उसले होस गुमाएकी थिई । उसको मनमा के चलिरहेको छ, कसैले बुझ्दैनथ्यो । सन्तान हराएकी आमाको पीडा र अवस्था जो कसैले पनि राम्रोसँग बुझ्छ । मिलनकी आमाको पनि उस्तै हाल थियो ।
जंगम काममै व्यस्त थियो । छोरोको नाममा केही गर्न लागेकोमा ऊ भित्रैदेखि खुसी थियो, तर उसको मनमा भने बेपत्ताको खोजीमा सरकारी संयन्त्रले सही ढंगले काम गरिरहेको छैन भन्ने विषय बिझाइरहेको थियो । सरकारले बेपत्ताका परिवारलाई ढिलासुस्ती गर्नुका साथै पीडाको भुमरीमा समेत बेरिदिएझैं लाग्थ्यो । ऊ सोच्थ्यो, ‘यो देशमा मजस्ता हजारांैं बाबुहरूको हालत यस्तै होला कि ?’ सम्झेरै उसको मन कटक्क खान्थ्यो !
केन्द्रमा आश्रय लिइरहेका नौजवानहरू आँगनमा घाम तापिरहेका थिए । जंगमको नजर उनीहरूमा पर्‍यो । उनीहरू आफ्नै हाउभाउमा मस्त देखिन्थे । हिजो मात्रै केन्द्रमा ल्याइएका ती सबै उसको छोराका उमेरका थिए । सबैको मानसिक अवस्था ठीक थिएन । ‘यिनीहरूका बाबुआमा को होलान् ? के मैलेजस्तै यिनीहरूका बाबुआमाले पनि यिनलाई खोजिरहेका होलान् ? यिनका बाबुआमासँग अब भेट होला कि नहोला ?’ उसको मनमा एक्कासि धेरै प्रश्न बल्झिए ।
प्रश्नसँगै उसलाई फेरि छोराको याद आयो ।
...
‘यो हाम्रो खानदानको पहिलो सरकारी मान्छे हुनेछ,’ हुर्किंदै गएको छोरो मिलन देखेर जंगम भन्थ्यो । छोरो भविष्यमा ठूलै मान्छे बन्छ भन्नेमा उसलाई विश्वास थियो । छोरोलाई सरकारी जागिरे बनाउने उसको ठूलो धोको थियो । जंगम गाउँको धनी परिवारको मान्छे ! र, पढे–लेखेको पनि भएकाले गाउँलेहरू उसलाई सम्मान गर्थे । पढेर पनि उसले सरकारी जागिरचाहिँ गरेन । आफ्नो त्यही कमी उसले छोरोबाट पूरा गर्ने रहर पालेको थियो ।
‘म पुलिस बन्छु,’ मिलनलाई कसैले के बन्छौ भनेर सोध्यो भने ऊ तोतेबोलीमा जवाफ दिन्थ्यो । छोरोको जवाफ सुनेर जंगम मख्ख पर्थ्यो ।
उसो त मिलनको जन्मसँगै जंगमको घरमा आशाको फूल फक्रिन थालेको थियो । बिहे भएको झन्डै आठ वर्षपछि जंगमकी श्रीमती दुई जीउकी भएकी थिई । त्यसबेला सबैभन्दा धेरै खुसी उसकी श्रीमती भएकी थिई । किनकि त्यो आठ वर्ष उसले धम्की, डर र सौता थपिने भय झेल्नुपरेको थियो । झन्डैझन्डै मानसिक तनाव नै झेल्नुपरेको थियो, जसबाट उसले अब मुिक्त पाएकी थिई । मुक्तिसँगै उसले घरमा स्थायी बुहारीको दर्जा पनि पाएकी थिई । त्यसैले पनि ऊ खुसी थिई ।
खुसीसँगै हुर्कियो मिलन । भन्छन् नि– सबैको लाडप्यारले हुँर्किदै गएको एक मात्र सन्तान मात्तिन्छ । मिलनमा पनि त्यही नियम लागू भइदियो । गाउँ डुल्ने र स्कुलबाट भाग्ने उसको बानी भयो । आफूभन्दा कमजोरलाई दुःख दिने अनि हातपातसमेत गर्ने भयो । त्यही बानी र बा–आमाले गरिदिएको नजरअन्दाजले मिलन बिग्रियो । गाउँमा मिलनलाई धेरैले राम्रो मन्दैनथे । ‘अब, प्लस टु पढ्न तँ धुलिखेल जा,’ छोरोको एसएलसीको रिजल्टपछि जंगमले भन्यो ।
मिलनलाई बाबुको त्यो प्रस्ताव चित्त बुझेको थिएन । उसलाई त्यसअगाडि पढ्न मन थिएन । पढाइमा मन लगाउनु उसको बसको विषय होइन भन्ने उसले राम्रोसँग बुझेको थियो । तर, बाबुको अघिल्तिर ऊ चुपचाप बसेर मौन स्वीकृति दिइरहेको थियो, जसले मिलनलाई भित्रैदेखि औडाहा भएर पोल्नुको साथै रिङ्ग्याइरहेको थियो ।
आमाको मनमा चाहिँ छोरोलाई आफ्नो आँखाबाट कसरी टाढा राख्ने भन्ने चिन्ताले छोपेको थियो । पातलो ज्यान, हँसिलो अनुहारको छोरो ऊसँग एक रात पनि टाढिएर बसेको थिएन । तर, जंगमको अघि उसको पनि केही चल्दैनथ्यो । त्यसैले चुपचाप स्विकार्नुबाहेक ऊसँग अर्को उपाय थिएन । बाबुको एकतर्फी निर्णय अनुसरण गर्दै मिलन धुलिखेल पुग्यो ।
...
‘तिम्रो छोरो सुराकी हो, उसले हाम्रो सुराकी गर्छ भन्ने हामीलाई थाहा छ । तिम्रो परिवारले यो गाउँमा गरेको ज्यादती र हैकमको अब एकएक हिसाब हुन्छ,’ जंगमलाई उसैको घरमा हुर्मत लिँदै यस्तो भनियो । सुन्नासाथ उसलाई बारुलाको झुन्डले चिलेझैं भयो । आङ डम्म फुलेझैं लाग्यो ।
घर हतियारधारीले घेरिएको थियो । आँगनमा कुर्लिंदै कमान्डर जंगमको हंस उडाइरहेको थियो । यस्तो लाग्थ्यो, ऊ कुनै दुस्मनी साधिरहेको छ । उसो त बेलाबेला जंगमले उनीहरूलाई चन्दासमेत दिँदै आएको थियो । तर, आज किन यस्तो भयंकर आरोप लगाइरहेछ ! उसले भेउ पाएको थिएन । धम्कीले जंगम अन्योल र विस्मयबीच घेरिएको थियो । ‘यो आरोप सोह्रैआना असत्य हो । मेरो छोरो धुलिखेल पढ्न बसेको हो । उसले तपाईंहरूको महान् कार्यमा कुनै किसिमको बाधा पुर्‍याउने काम गरेको छैन,’ उसले छोरो निर्दोष भएको प्रस्ट्याउन खोज्यो ।
छोरोको नाम सुराकीमा दरिएपछि जंगमको हंसले ठाउँ छाड्यो । बेकसुर छोरोलाई यसरी अपराधी बनाउँदा उसको मनमा चिसो पस्यो । यतिबेला मिलनलाई बेकार धुलिखेल पढ्न पठाएछु भन्ने उसलाई लाग्यो । र, मनमनै आफैंलाई धिक्कार्‍यो ।
‘तपाईं यसरी पन्छिन पाउनुहुन्न । यो गाउँमा उसले गरेको उपद्रोसँग जोकोही जानकार छन् । गाउँलेलाई गरेको दुर्व्यवहार हामीलाई थाहा छ । तपाईंको छोरो मिलनलाई भोलि नै गाउँमा झिकाउनुस् । ऊसँग हामीले अरू कुरा पनि बुझ्नु छ,’ बोल्नेको मुखमुद्रा रौद्र थियो । घरीघरी ऊ जंगमतिर औंला पनि तेर्स्याइरहेको थियो । त्यसअघि गाउँमा जंगमलाई कसैले औंला तेर्स्याउन सकेको थिएन । सदियौंदेखि गाउँमा हैकम चलाउँदै आएको परिवारको सन्तान थियो जंगम । यसबेला भने समय र परिस्थिति बदलिएको थियो । त्यसैले ऊ निरीह उभिइरह्यो ।
‘भोलि तपाईंको छोरा आएन भने परिणाम नराम्रो हुनेछ,’ चेतावनी गर्जिएसरि जंगमको कानमा पस्यो । सुनेर उसको शरीरका नसानसा झनझनाए । डर, संकोच र अन्योलले एकैपटक छोपेझैं लाग्यो । झन्डै रिँगटा लागेर ढल्लाझैं भएको थियो, तर उसले आफूलाई सम्हाल्यो । किनकि आफू कमजोर हुनु भनेको छोरोलाई कमजोर बनाउनु हो । भोलि केही तलमाथि हुनु हो ।
छापामारहरू चेतावनी दिएर गइसकेका थिए । घरमा चाहिँ रुवाबासी चलिसकेको थियो । मिलनकी आमा सुकसुकाउँदै बेहोसझैं घरको ढोकामा अडेस लगाएर थुचुक्क बसेकी थिई । अर्धचेत अवस्थामा उसलाई देखेर जंगमको होस
उड्यो । कतै यो पीरले बूढी बिरामी पो परी कि भन्ने पीरले गाँज्यो । हत्त न पत्त उसले श्रीमतीलाई पानी छम्कियो । ‘मेरो छोरोलाई केही हुनु हुँदैन,’ श्रीमती बर्बराइरहेकी थिई । उसको चेत हराइसकेको थियो । जंगमलाई चाहिँ अब के गरौं कसो गरौं भएर आयो । छोरो झिकाऊँ कि नझिकाऊँ भयो । यता श्रीमतीको यो हालत थियो । उसको सुझबुझले केही काम गरेन ।
...
भोलिपल्ट मिलन आफैं घरको आँगनमा देखापर्‍यो । अचानक छोरोलाई देखेर जंगम जिल्ल पर्‍यो । प्रायःजसो मिलन यसै गरी बिनाखबर घर आइपुग्थ्यो । खबरै नगरी आएकाले जंगमभित्र सन्त्रासले डेरा जमायो । हिजो आएका माओवादीले दिएको धम्की सम्झिएर शीतांग भयो । एक मन छोरोसँग रीस पनि उठ्यो, तर केही बोलेन ।
मिलनकी आमा ओछ्यान परेकी थिई । हिजोदेखि केही नखाएकी र अनिदो भएकीले आँखा धसिएका थिए । कमजोर देखिएकी थिई । छोरोलाई आँखासामु देखेर उसको आँखा रसायो । मनभित्रको खुसी अभिव्यक्त गर्ने सामर्थ्य पनि थिएन, यति धेरै कमजोर थिई ।
आमा–छोराको भेटले घरमा अनौठो वातावरण सिर्जना गरेको थियो । वर्षौंपछि आमा–छोरा भेटिएझैं लाग्थ्यो । यो दृश्य देखेर छिमेकीहरूका समेत आँखा रसाइसकेका थिए । तर, यता जंगमको मनमा भने ढ्याङ्ग्रो बज्न थालेको थियो । हिजै धम्की दिएर गएको छ, यो किन आएको होला ! ऊ मनमनै मिलनसँग रिसाइरहेको थियो । उता आमा–छोराको मिलनले उसको मन भक्कानिएलाझैं भइरहेको थियो ।
‘मिलनको घर यही हो ?’ बाहिर कोही बोलेको सुनियो ।
‘हो,’ भित्रैबाट मिलन बोल्यो । कसले सोधेको भन्ने भेउ नै नपाई ऊ बोलेको थियो । बोलाउनेको आवाजमा कुनै रोष वा दम्भ थिएन ।
‘बाहिर आउनुस् त ।’
जंगमको मन आत्तियो । पक्कै पनि उनीहरू आए भन्ने उसले अनुमान लगायो । अनुमानसँगै जंगमले अब के हुने हो भनेर सोच्यो । सोच्दासोच्दै उसले मिलनलाई रोक्न खोज्यो । तर, मिलन घरबाहिर निस्किसकेको थियो ।
बाहिर कम्ब्याक्ट ड्रेसमा हतियारधारीले चारैतिरबाट घर घेरिसकेको थियो । यो देखेर जंगम भय र द्विविधाले गलेजस्तै भयो । अनिष्टको शंकाले उसलाई
रिङ्ग्यायो । एक्कासि उसले भगवान्लाई मनमनै पुकारा गर्‍यो, ‘हे भगवान् ! रक्षा गर ।’
‘मिलन भन्ने मान्छे को हो ?’ एउटाले कडा स्वभावमा सोध्यो । मानौं हुकुम गर्जिरहेको होस् । यो प्रश्नले सबैको अनुहारमा औंसी छायो । अब के हुने हो– को भय सबैको मनमा गड्यो । त्योभन्दा बढी जंगमको अनुहारमा बादल छायो । निमेषभरमै उसको नौनाडी गलेर आयो ।
‘म हुँ,’ मिलन अघि सरेर बोल्यो ।
बोली भुइँमा खस्न नपाउँदै उसलाई कम्ब्याक्ट ड्रेसधारीले झ्यापझुप्प समाते, कुनै अपराधीलाई झैं । केहीले उसलाई हतियार पनि तेर्स्याए । यो अचानकको घटनाले सबैको होस उड्यो । आँगनमा लुगलुग कापिरहेको अवस्थामा सबै उभिएका थिए । मिलनले सोच्ने मौका पनि पाएन, आखिर के भइरहेको छ ! ऊ कालोनीलो भयो ।
‘मिलनको नाम माओवादीको लिस्टमा छ । ऊ यो गाउँको युवाहरूको नाइके हो । उसले युवाहरूको समूह बनाएर चन्दा आतंक मच्चाएको छ । हामीलाई यस्तै सूचना प्राप्त भएको छ,’ टोली नेताले भन्यो ।
बल्ल सबैले बुझे, यी माओवादी नभएर नेपाली सेना हुन् । तर, उनीहरूको यो कुरा सुनेर जंगम र उसका छिमेकी तीनछक परे । मिलनको चेतना पनि जिल खायो । हुँदै नभएको आरोप उसलाई लगाइएको थियो । यो आरोप निराधार थियो । यसमा कुनै सत्यता थिएन ।
जंगम र उसका छिमेकीले सेनालाई मिलनबारे राम्रोसँग सम्झाउने कोसिस गरे । मिलन धुलिखेल बसेर पढिरहेको सुनाए । उनीहरूको कुरा सेनाले मान्ने छाँटकाँट देखिएन । सेना एकोहोरो आदेशको पालना गर्ने मनसायमा थिए । उल्टै सेनासँग भएको माओवादीको सानो डायरी देखाएर मिलनको दोषमा सत्यता रहेको पुष्ट्याइँ गरे ।
अन्ततः उनीहरूले मिलनलाई पाता कसेर लगे ।
छोरोलाई सेनाले लगेको हेरेर बस्नुबाहेक जंगमसँग कुनै उपाय रहेन । अमिलो मन लिएर छोरो ओझेल नपरुन्जेल उसले घरको आँगनबाट हेरिरह्यो । ओझेल परेपछि उसले जिल्लामा आफ्ना मान्छेलाई सम्झियो । भोलि बिहानै जिल्ला पुगेर सबै घटना सुनाउने र आफ्नो छोरो निर्दोष रहेको कुरा जाहेर गर्ने विचार बनायो ।
...
‘तपाईंको छोरो हिजै छुटिसकेको छ । उसको बारेमा गलत रिपोर्ट परेको रहेछ । त्यसैले हामीले उसलाई हिजो दिउँसै छाडिदियौं,’ भोलिपल्ट ब्यारेकमा पुगेर सोधपुछ गर्दा पाएको जवाफले ऊ अक्क न बक्क भयो । आफूले सुनेको कुरामा पनि विश्वास भइरहेको थिएन ।
‘मेरो छोरो घर पुगेको छैन,’ उसको बेचैनी बढ्न थालेको थियो । छोरोको कुनै अत्तोपत्तो थिएन । हिजो आफ्नै आँखाअघिल्तिर पाता कसेर लगेकाले नै ‘हामीसँग छैन’ भन्दा उसको मनमा चिसो पस्यो । कतै छोरालाई यिनीहरूले बेपत्ता त पारेनन् ! उसको मन डरायो । उसले छोराको वास्तविक अवस्था बताइदिन अनुनयविनय गर्‍यो । तर, त्यो सिपाहीले मिलनलाई हिजै छाडिदिएको प्रमाणसमेत देखाइरहेको थियो ।
ब्यारेकबाट निस्कँदा व्यथित नै भए पनि जंगमको मनमा आशा पलाएको थियो । ऊ छोराको कोठासम्म पुग्यो । तर, मिलन त्यहाँ पुगेकै थिएन । उसले छोराका साथीहरूलाई भेट्यो, इस्टमित्रलाई खबर गर्‍यो । काठमाडौंतिर बरालिन आएको छ कि भनेर हरेक सम्पर्क सूत्रहरूको प्रयोग गर्‍यो । तर अहँ, कतै पनि मिलन पुगेको थिएन । न त कसैले उसलाई देखेकै थियो । ऊ बेपत्ता थियो ।
...
त्यही दिनदेखि उसको एक मात्र काम थियो– छोरोको खोजी गर्नु !
अर्धचेत श्रीमतीको स्याहार गर्दै ऊ बेपत्ता छोरोको खोजीमा दिनहुँ भौंतारियो । बेपत्ता छोरोको फोटोसहितको पर्चा कति बाँड्यो कति ! रेडियोमा सूचना प्रसारण गर्ने र पत्रिकामा सूचना छाप्ने काम धेरैपटक गर्‍यो । गाउँ, सहर चाहार्‍यो । तर, छोरो फेलापरेन । ‘छोरोको अब आस नगर,’ केहीले उसलाई भन्ने गर्थे । बेपत्ताहरू मारिएका केही उदाहरण पनि दिन्थे । यो सुन्दा जंगमको मनमा भुइँचालो जान्थ्यो । शरीर शीतांग भएर आउँथ्यो । झन्डै जिउँदो लासझैं हुन पुग्थ्यो ।
छोरो बेपत्ता भएपछि खोज्नुपर्ने र सोध्नुपर्ने कुनै ठाउँ उसले बाँकी राखेन । तर, ऊभित्र कहिल्यै निराशाले डेरा जमाएन । उसले सधैं आशाको दियो बालिरह्यो र छोरोको खोजी गरिरह्यो । उसलाई विश्वास थियो, छोरो एक दिन फेलापर्नेछ ! किनभने छोरो छुटेको विश्वास उसलाई ब्यारेकले दिलाएको थियो ।
मिलनलाई चियापसलमा झोक्राएको अवस्थामा त्यही साँझ देखेको केहीले बताएका पनि थिए । यस्तै अपुष्ट खबरले पनि ऊभित्र विश्वास दह्रो बनेको थियो ।
...
छोरो सम्झिँदा जंगमले आँसु झरेको पत्तै पाएन । दृश्यको टिलपिल आँखाले उसको मन पनि रुझेको छ भन्ने ज्ञात हुन्थ्यो । जब उसले आँखा रसाएको थाहा पायो, ऊ बरन्डाको कुर्सीमा बसेको थियो । बेपत्ता छोरोको यादले पिरोलेकोमा भन्दा पनि उसलाई यतिबेला श्रीमतीको पीडाले सतायो । सधैं एकोहोरो बाटोतिर आँखा लगाइरहने उसकी श्रीमतीको मनोदशाले उसलाई बेलाबेला भित्रैदेखि पीडा थपिदिन्थ्यो ।
‘बाबुहरूलाई नुहाइदिएर कपाल, दाह्री काटिदिनू । मैले कपाल काट्ने हजाम यहीँ बोलाएको छु,’ जंगमले सबैको सरसफाइलाई ध्यानमा राखेर भन्यो । सेवा केन्द्रमा ल्याइएका आठै जनाको मैलो कटकटिएर छाला कालो भएको थियो । र, लामो फोहोरी दाह्रीले अनुहार पनि नचिनिने भएका थिए । उनीहरूलाई ध्यान दिएर राम्रैसँग नियाल्दा पनि वास्तविक स्वरूप कस्तो होला भनेर अनुमान लगाउन गाह्रो थियो । त्यसैले जंगमले उनीहरूलाई नुहाइदिएर, कपाल, दाह्री काटिदिएर सफा र चिटिक्क बनाउने सोच्यो ।
घाम चर्को लागेको थियो, तर हिउँदयाम भएकाले घामको आवश्यकता सबैले महसुस गरेका थिए । घाम ताप्दै नाई पालैपालो आठै जनाको कपाल काट्न थाल्यो । नाई आफ्नो कलालाई निपुणतासाथ प्रदर्शन गर्दै थियो । उसको हात र कैंचीले जादू गरेझैं लाग्थ्यो । जिङरिंग कपाल काटेर छोटो बनाउँदा ती सबै जनाको रूपरङ नै बदलिएको र बेग्लै देखियो । त्यसपछि नाईले पालैपालो दाह्री काट्न थाल्यो । त्यतिबेला पनि उसको कला प्रदर्शन भइरहेकै थियो ।
हेर्दाहेर्दै जंगमले अलि परको कुर्सीमा बसेर नाईको क्रियाकलाप चुपचाप नियालिरहेकी श्रीमतीको आँखामा त्यसअघि कहिल्यै नदेखिएको अनौठो किसिमको चमक ठम्यायो । उसको अनुहारमा खुसीका रेखा चलमलाउन थाले ।
धेरैपछि श्रीमतीको उज्यालो अनुहार देखेर जंगम दंग पर्‍यो । उज्यालिएको अनुहारसँगै बिस्तारै उसका ओठ पनि मुस्कानले भरिएलाझैं भए । श्रीमतीको अनुहारको उज्यालो आफ्नो आँखामा टाँसेर जंगम पनि रूपरङ फेरिएका नौजवान पाहुनाहरूतिर हेर्न थाल्यो । हेर्दाहेर्दै यो के भयो, उसका आँखा कतै टक्क अडिए । उसको मुटुको धड्कन बढ्न थाल्यो । एउटा चामत्कारिक अनुभूति उसको चेतना हुँदै आँखासम्म आएर छरियो । त्यसको आलोकमा उसका आँखा तिर्मिराए । एक्कासि उसलाई सपनामा कुनै उज्यालो मुस्लोतिर यात्रा गरिरहेजस्तो अनुभव भयो । हेर्न नसकेर जंगमले आफ्ना दुवै आँखा बलियोसित चिम्म गर्‍यो । तर, आँखा चिम्लँदा यो दृश्य देख्न पाउन्नँ कि भनेझैं उसले तत्काल आँखा खोलिहाल्यो । अब उसका आँखा भिजिसकेका थिए । ‘हे भगवान् के यो सत्य हो ? यो सपना त होइन नि !’ काँपेको स्वरमा जंगम बर्बरायो ।
उसका आँखा त्यही युवकमा अडिएका थिए, जसलाई जंगमले तीनदोबाटोमा झुत्रे र मैलो आकृतिमा फोहोर बटुलिरहेको देखेको थियो ।
त्यो युवक उसले देखेजस्तो चिल्थो कपडा, लामो र फोहोरी कपाल, दाह्रीमा थिएन । उसले आफ्नो चोला पूरै बदलेको थियो । हो यो त्यही युवक थियो, जसको चालढाल देख्दा उसलाई त्यो पूर्वपरिचितजस्तो लागेको पनि थियो । तर, बस चढ्ने हतारमा त्यो आभास पानीको फोकाझैं तत्काल बिलाएर गएको थियो । जंगमलाई एक्कासि पछुतो लागेर आयो । हो, यो मिलन नै थियो । बेपत्ता भएको उसको छोरा, जसको खोजीमा ऊ बीसौं वर्ष भौंतारिएको थियो !
जंगमका आँखा निरन्तर बगिरहेका थिए । आँसुको ऐनामा ऊ सफाचट अनि सुकिलो अनुहारमा बसेको छोराको प्रतिविम्ब बोकेर बिनाहलचल बसिरहेको थियो । यसरी मानौं, कतै आँसुको पोखरी छचल्किएर छोराको आकृति नबिलाइजाओस् । बीस वर्षदेखि मौन रहेकी श्रीमतीचाहिँ अकस्मात् उर्लंदो बाढीजस्तै गर्जिंदै छोरालाई अँगालो हाल्न पुगिसकेकी थिई । ऊ जोड–जोडले रुँदै थिई । अब स्थिर हुने पालोचाहिँ जंगमको थियो । ऊ भक्कानिनसमेत सकिरहेको थिएन ।

कोसेली

गिद्धहरुको नाच

- कमलराज केसी

 

समय बरखीमा छ
मान्छे शोकमा छ
तर, जारी छ यहाा
गिद्धहरुको नाच ।

बुद्धजस्तै शान्त छ पाठशाला
कहाा गए होलान्
ती चराजस्ता केटाकेटीहरु ?
देवालयमा देवता एक्लो छ
कहाा हरायो होला
त्यो भक्तहरुको भीड ?
बिलकुल सुनसान छ सडक
बज्दैन कतै
मान्छेका पदचापहरुको संगीत
मात्र ठोक्किरहन्छ
कानका पर्दाहरुमा
शवबाहनहरुको आर्तनाद ।

आर्यघाटबाट लेखिरहेछन्
दिवंगत प्रियजनहरु
जिउादा मान्छेहरुको नाममा
श्रद्धाञ्जलीका शब्दहरु
र रंगाइरहेछन्
सामाजिक सञ्जालका भित्ताहरु ।

पहाडजस्तै मौन छ
यो चिहानघारी जस्तो सहर
तर, यही सहरको एउटा कुनामा
निरन्तर जारी छ– गिद्धहरुको नाच
ज्ञात होस्
गिद्धहरुलाई मान्छेको
दुःखपीडासाग कुनै सरोकार हुादैन ।

 

Page 16
कोसेली

१५ हजार वर्षदेखिको मानव सारथि

- डा. तीर्थबहादुर श्रेष्ठ

 

मान्छेलाई तुच्छभन्दा पनि तुच्छ स्तरमा गिराउनुपरे ‘कुकुर’ भनी अवहेलना गर्ने नेपाली समाजको सामान्य व्यवहार हो । त्यही कुकुरलाई हामी हाम्रै महान् चाड तिहार यमपञ्चकको दोस्रो दिन पूजा गर्छौं । आफ्नो संस्कृति, संस्कार र धर्मलाई जीवन्त राख्न वर्षभरिमा एक दिन भए पनि कुकुर पूजा गरिन्छ । एकातिर तुच्छ व्यवहार, अर्कोतिर दैवस्वरूप पूजा– यो कस्तो विडम्बना ? सोच्न थालेको छु– महाभारत युग र आजको युगबीच अन्तरालमा परेको सोच परिवर्तन त होइन यो ?
पञ्चपाण्डवको स्वर्गलोक यात्रामा भीम, अर्जुन, नकुल, शहदेव र द्रोपदीसमेत कुनै न कुनै पापका कारण इन्द्ररथमा बस्नलायक भएनन्, तर युधिष्ठिरसँग इन्द्ररथमा चढ्न कुकुर योग्य ठहरियो । त्यसैले यो निष्कलंक प्राणीलाई पूजा गर्ने चलन बस्न गएको मान्यतामा हामी कुकुर तिहार मनाउँछौं । एक दिन मात्रै होइन, जीवनभरि नै कुकुर पूजनीय हुन्छ भन्ने हेक्कामा यो लेख लखेको हुँ ।
कुकुर घरपालुवा जनावर हो । अभिलेख भन्छ– लगभग १५ हजार वर्षदेखि मान्छेले कुकुर पाल्न थालेका हुन् । र, हालसम्म ४५० भन्दा धेरै जातका कुकुरलाई मान्छेले विकास गरिसकेको छ । मान्छेको सभ्यताक्रमसँगै विभिन्न प्रकारका कुकुर विकसित भएका हुन् । बाघ, गैंडा, हात्ती, भालु, स्याल, ब्वाँसोजस्ता प्राकृत वन्यजन्तु होइन कुकुर । प्रकृतिमा पाइने एकप्रकारको ब्वाँसोको वंशबाट कुकुर विकास गरिएको हो । त्यसो त हाम्रै वनजंगलमा पनि जंगली कुकुर ‘ढोले’ तथा ब्वाँसो, स्याल र फ्याउराहरू भेटिन्छन् । तर, आजको प्रसंग पाल्तु कुकुरसँग सम्बन्धित छ । पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्मै फैलन सफल प्राणी मान्छे र कुकुर मात्रै हुन् । हिमाच्छादित क्षेत्रमा बिनापांग्राका चिप्लेटिरत ‘स्लेड’ तान्ने हस्की जातको कुकुर सबैभन्दा ठूलो कदको हुन्छ । यिनीहरू दुई फुटभन्दा अग्लो र २५ किलोभन्दा गह्रौं हुन्छन् । अत्यधिक जाडो खप्न सक्ने यी कुकुरका भुत्ला निकै बाक्लो हुन्छ । त्यस्तै यी कुकुर मोटोघाटो हृष्टपुष्ट पनि हुन्छन् । संसारभर सबैभन्दा सानो कुकुर मेक्सिकोमा विकास गरिएको ‘चिहुवा हुवा’ जातलाई मानिन्छ । यसको ओजन ३ किलोभन्दा कम र उचाइ पनि एक बित्तासम्म मात्र हुन्छ ।
कुकुर ठूलो होस् वा सानो, चिल्लो होस् वा झ्यालटुंगे, सोझो होस् वा झम्टालु– जस्तै भए पनि मान्छेको सबैभन्दा भरपर्दो साथी उहि हो । लैनसिंह बाङ्देलले ‘लंगडाको साथी’ उपन्यासमा वर्णन गरेको कुकुरले मरणोपरान्त साथीको धर्म निर्वाह गरेको कथाको मर्म हामी सबैले बुझ्नुपर्छ ।
तसर्थ ‘लंगडा’ का साथी पनि कुकुर, आँखा नदेख्नेका साथी कुकुर, अपांग र अशक्तका साथी कुकुर, दीर्घरोगीका साथी कुकुर, धनीमानीका साथी कुकुर अनि गरिब भिखारीका साथी पनि कुकुर नै हो । कुकुरले आफ्नो मालिकको जाति, धर्म, वर्ण, लिंग वा उमेरमा भेद गर्दैन । मालिक आफ्नै हो वा होइन भन्नेबाहेक अरू कुनै हेक्का राख्दैन । पुच्छर बांगो भए पनि नुनको सोझो हुन्छ कुकुर । थुतुनो चिसो भए पनि मुटु न्यानो हुन्छ कुकुरहरूको । सेवा नै धर्म हो भन्नेमा कुनै प्राणीले कुकुरलाई भेट्दैन ।
एकपटक चिनेको मान्छेलाई कुकुरले कहिल्यै बिर्संदैन । कुकुरको घ्राणशक्ति मान्छेको भन्दा ५० गुना धेरै र अद्वितीय हुन्छ । वर्तमान विश्वमा मान्छेले कुकुरलाई उपयुक्त शिक्षा, तालिम र उचित अभ्यासमा समाहित गरी विशेष प्रकारका चमत्कारी सेवाहरूबाट लाभ लिएका छन् । मान्छेको शारीरिक मात्र होइन, मानसिक समस्यालाई पनि समाधानको बाटोमा डोर्‍याउन कुकुरहरू सफल भएका छन् ।
विज्ञान तथा प्रविधिले सम्पन्न वर्तमान विश्व परिवेशमा पनि कुकुरका विशिष्ट सेवालाई विस्थापित गर्न सक्ने उपकरणहरू उपलब्ध छैनन् । कुकुरका चमत्कारी सेवा अनेक छन् । केही उत्कृष्ट सेवाहरूको चर्चा गर्‍यौं भने सेवक कुकुरहरूको विशेष उल्लेख गर्नुपर्ने हुन्छ । मानिसको व्यक्तिगत सेवामा तिनको योगदान चमत्कारी साबित हुन्छ ।
शारीरिक अपांगता भएका वा मानसिक रूपमा शिथिल र अशक्त भएका व्यक्तिलाई सहयोगी सेवा प्रदान गर्ने विशिष्ट कुकुरहरूको प्रसंग कोट्याउँदा दृष्टिविहीन मानिसलाई बाटो देखाउने, विभिन्न गन्तव्यमा पुर्‍याउने चमत्कारी कुकुरहरूको सम्झना हुन्छ । सवारी नियम पालना गर्ने र मान्छेलाई डोर्‍याई सवारी साधनसम्म पुर्‍याइदिने काममा कुकुरहरू निपुण हुन्छन् । लठ्ठी–बैसाखीको सहारामा हिँडडुल गर्दा भीडभाडबाट मान्छेलाई बचाउने र अरू व्यक्तिलाई हटाउने काममा पनि निपुणता हासिल गरेका हुन्छन् कुकरले । ‘बहिरा’ व्यक्तिलाई बाहिरी ध्वनि र आवाजको संकेत पनि दिन सक्ने क्षमता विकास गरिएको हुन्छ विशेष सेवाप्रदायक कुकुरहरूमा । गुड्ने मेच ‘ह्विलचियर’ को सहायतामा डुल्न बाध्यहरूका लागि पनि सहायक हुने कुकुर साथीहरू प्राप्त गर्न सकिन्छ । ढोका खोलिदिने, बत्ती बालिदिने, दराज–तख्ता खोल्ने र बन्द गर्ने, भुइँमा खसेको वस्तु टिपिदिने काममा पनि कुकुरहरूले तालिम पाएका हुन्छन् । त्यसका लागि घरको बन्दोबस्त पनि कुकुरमैत्री हुनु आवश्यक हुन्छ ।
सुस्त मनस्थिति, मस्तिष्कघात वा पक्षाघातले सहज जीवन जिउन नपाइरहेका व्यक्तिका लागि विशेष तालिम प्राप्त कुकुरको सेवा लाभप्रद हुन्छ । बेलाबखत मूर्च्छित हुने ‘सिजर’ रोगले सताउने मानिसहरूलाई रोगप्रहार हुनुअगावै सुइँको पाउने क्षमता कुकुरमा विकास गर्न विशेषज्ञहरू सफल भएका छन् । क्यान्सर अर्थात् अर्वुद रोगलाई समयमै ठम्याउने क्षमता पनि कुकुरमा विकसित गराउने चेष्टाहरू आशावादी बन्न थालेका छन् । आजभोलि कोरोना महामारीको रोग ठम्याउन पनि केही आधुनिक विमानस्थलमा कुकुरको तैनाथी प्रारम्भ भएको छ ।
भौतिक रूपमा प्रत्यक्ष सहयोगी भएर सेवा गर्ने कुकुरका अतिरिक्त रोगव्याधले थला परेका वा दीर्घरोगी वा उमेरका कारण अशक्त जीवन बिताइरहेकाका लागि कुकुरको साथ निकै लाभप्रद हुने गरेका थुप्रै उदाहरण छन् । तनको रोगबाट मन र मस्तिष्कलाई मुक्त गराउन कुकुरको साथले विशेष भूमिका खेल्दोरहेछ । तसर्थ विभिन्न अस्पताल, चिकित्सालय, बालगृह, वृद्धाश्रमजस्ता ठाउँमा बेलाबखत कुकुरको सेवा प्रदान गर्ने चलन छ । यस्ता कुकुर मायालु, मिलनसार, मित्रवत् व्यवहार जान्ने खालका हुन्छन् । यिनीहरू सोहीअनुसार तालिम प्राप्त हुन्छन् । यस्ता कुकुरलाई ‘थेरपिडग’ भनिन्छ ।
प्रहरी सेवाका कुकुरहरू विशेष सुराकीको काम गर्न सक्षम हुन्छन् । नाकको घ्राणशक्तिले अपराधी ठम्याउने, अवैध लागूपदार्थ वा आतंककारीका साथमा रहेको अवैध हातहतियार वा विस्फोटक पदार्थको सुराक दिने, हराएका बालबालिका वा अन्य व्यक्तिको खोजी गर्ने आदि काममा कुकुरको प्रयोग
बढ्दो छ । नेपालमा पनि प्रहरी सेवाका कुकुरहरूका चमत्कारी काम बरोबर सार्वजनिक हुने गरेको छ ।
सैनिक गतिविधिमा विशेषतः शत्रुले विस्फोटन गराउन विभिन्न ठाउँमा थापेका बम वा विस्फोटक पदार्थको पहिचानमा कुकुरहरूले विशेष सेवा दिने गरेका छन् । शत्रुको सुराक लगाउन कुकुरहरू निपुण हुन्छन् । प्राकृतिक प्रकोपका बेला उद्धार कार्यमा कुकुरले सघाएका उदाहरण हाम्रै ०७२ सालको महाभूकम्पको समय प्रत्यक्ष भएको थियो । कुकुरले प्रदान गर्ने उपरोक्त विलक्षण सेवाका लागि तालिम सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । वर्तमान विश्वमा भएका कुकुरका जातिमध्ये ल्याब्राडोर रिट्राइभर, गोल्डेन रिट्राइभर, जर्मन सेपार्ड, स्टान्डर पुडुल, बेल्जियन म्यालिनवाह विशेष उल्लेखनीय छन् । कुकुर तालिममा मानिसले प्राप्त गरेको सबैभन्दा पहिलो कीर्तिमान भेडा, बाख्रा, गाईवस्तु तह लगाउने गोठाला कुकुरको तालिम हो । यस काममा लगभग १५ हजार वर्षपहिलेको इतिहास भेटिन्छ । सोही समयदेखि मान्छेको साथीका रूपमा घरघरमा कुकुर पाल्न थालिएको हो । विश्व बजारमा सयौं प्रकारका कुकुर उपलब्ध छन् । काखमा खेलाउने फुच्चे कुकुरदेखि घरबार रक्षा गर्ने जंगी कुकुरसम्म हामी छान्न सक्छौं ।

कुकुरसँग मेरो संगत
कुकुरसँग मेरो संगत सम्झिन बाल्यकालमा पुग्नुपर्छ । काठमाडौं महाबौद्ध बहालमा गल्ली–कुकुरका छाउराहरू हुन्थे । महाबौद्धको ग्वार्चा नामक एक फोगिन (माग्ने) को
थाङ्नोसँग १०/१२ वटा कुकुर पाटीमा सँगै खान्थे र सँगै सुत्थे । ती भुस्याहा गल्ली कुकुरहरू टोलका रक्षक थिए । अन्जान मान्छे टोलमा छिर्‍यो भने भुकेर तिनले रातैभर सुत्न दिँदैनथे । महाभारतको कथासँग एवं मोहेन्जोदारो सभ्यताको अवशेषसँग जोडिएका यी एसियाली नस्लका भुस्याहा कुकुरहरूलाई आजभोलि रेबिज रोगका कारण हामी उन्मूलन गर्ने जमर्कोमा छौं । के गाउँ, के सहर यिनको बिगबिगी उस्तै छ । यो विशेष नस्लको हाम्रो मौलिक कुकुरको संरक्षण गर्नुपर्छ वा पर्दैन ? त्यसबारे बहस हुनु जरुरी छ । इपू २५०० वर्ष अघिदेखि अर्थात् ४५०० वर्षभन्दा पुरानो कुकुरसँगको हाम्रो सहअस्तित्वलाई यत्तिकै मेटाइदिने वा संरक्षण गर्ने ?
हिमाली क्षेत्रमा जडीबुटी अध्ययनमा हिँड्दा गोठ–गोठमा पालिएका भोटेकुकुरले सातो लिन्थे । गोठालाले फकाएपछि चुप लाग्थे । तिबेटन मास्टिफ नामक यी कुकुरले ४ हजार मिटरभन्दा उच्च क्षेत्रमा भेडा–च्यांग्रा, चौरी–याकका बथानमा कसैलाई पनि बाटो बिराउन वा हराउन दिँदैनन् । साँझ सबै वस्तुभाउलाई खेदेर गोठमा ल्याइपुर्‍याउँछ । पाल्तु जनावर तह लगाउने काममा कुकुरको योगदान चर्चित छ । वन्यजन्तु सिकारमा प्रयोग हुने सिकारी कुकुरसँग कास्कीको लेकाली क्षेत्रमा र कर्णालीका विभिन्न कन्दरामा यदाकदा भेट भएको थियो । कस्तूरी सिकारमा तिनको विशेष भूमिका हुन्थ्यो ।
यस वर्ष अमेरिकाको छोटो बसाइमा शारीरिक एवं मानसिक अशक्तहरूको विशेष सेवामा खटिएको ‘सर्भिस डग’ सँग संगत भयो । नेपालमा पालेको आफ्नै रखबारी कुकुरलाई पनि बिर्सने कुरा भएन । रोन्डा, जाइलो र जोली नामक तीन प्रकारका कुकुरको प्रसंग यहाँ जोड्न चाहन्छु ।

रोन्डा
रोन्डा एक सर्भिस डग हो । सोख विशेषले पालिएको होइन । एक निर्दिष्ट संस्थाबाट खटाइएको प्राणी हो । अमेरिकी नियम, कानुन र मान्यता अरू कुकुरका भन्दा भिन्नै हुन्छ । तिनीहरू सधैं काजमा हुन्छन्, सेवामै बस्छन् ।
रोन्डा निख्खर कालो, चिल्लो र चम्किलो हुन्छ । कान दोब्रेको, थुतुनो लामो र आँखा चम्किला हुन्छन् । यसले कसैलाई भुक्दैन । चौबीसै घण्टा शान्त बस्छ । तर, ‘स्पिक’ भन्यो भने तुरुन्तै भुक्छ र पुच्छर हल्लाउन थाल्छ अनि सलबलाउँछ । माया गर्न थाल्यो भने चाट्छ । बस् अर्थात् ‘सिट’ भन्यो भने बस्छ, मुन्टो तल अर्थात् ‘डाउन’ भन्यो भने खुसुक्क मुन्टो तल झारेर लम्पसार बस्छ । मेचमा, कारमा वा सोफामा बस् नभनी बस्दैन । जाऊँ अर्थात् ‘लेट अस गो’ भन्यो भने साथै हिँड्छ । करिब ४०/५० वटा आदरार्थी शब्द पालना गर्न उसलाई सिकाइएको छ । आधुनिक भवनका ढोकामा जडिएका विद्युतीय चुक्कुलहरू आफैंले खोल्न सक्छ । घरका तख्ता र दराजहरू पनि खोल्न, बन्द गर्न सक्छ ।
रोन्डालाई विशेष प्रकारको खाना खुवाइन्छ । घरमा बन्ने कुनै पनि खाना दिइँदैन, बजारबाटै खरिद गर्नुपर्छ । खाना नापेर थालमा राखेपछि बोलाएर बसाउनुपर्छ । ‘सिट’ भनेपछि बस्छ र ओके नभनेसम्म कुर्छ । बेलाबखत बोलाएर केही खाना इनामस्वरूप दिने गरिन्छ । ‘राम्री छौ’ अर्थात् ‘गुड गर्ल’ भन्यो भने ऊ प्रसन्न हुन्छ । रोन्डालाई तालिमका क्रममा सामाजिक व्यवहारका थुप्रै कुरा सिकाइको हुँदोरहेछ । पहिलो त ‘स्पिक’ नभनी उसले कहिल्यै भुक्दैन । घरमा, बाटोमा वा बजारमा कहीँ पनि अरू मान्छे वा कुकुरलाई भुक्दैन, झम्टिँदैन । अरू कुकुरले बाटोमा वा पार्कमा उसलाई भुक्दा पनि ऊ शान्त बस्छ । बाटोमा खरायो, लोखर्के र कहिलेकाहीँ हरिण पनि भेटिन्छन् । रोन्डा चनाखो त हुन्छ तर भुक्दैन, झम्टिँदैन ।
रोन्डालाई लिएर घरबाहिर जाँदा उसको पहिचान र पेटी गर्दनमा बाँधेकै हुनुपर्छ । डोरीले नबाँधेको कुकुरलाई कसैले पनि बाहिर लिएर हिँड्दैनन् । अपांग सेवाको निसाना भएको नीलो पोसाकमा एउटा थैली पनि हुन्छ । त्यसमा दिसा बोक्ने प्लास्टिकको मुठा राखिछाड्न बिर्सन हुँदैन । ‘सर्भिस डग’ लेखिएको पहिरनमा भएका कुकुरलाई सबैले पहुँच दिन्छन्, रोक्न मिल्दैन । हामीले रोन्डालाई थिएटर हेर्ने ठाउँमा, विभिन्न पार्क, बगैंचा, उद्यान तथा अन्य कुकुर निषेध गरिएका निकुञ्ज वा पिकनिक स्थलमा सहजै लिएर जाने गरेका छौं । रेस्टुराँहरूमा भोजन गर्न जाँदा रोन्डा साथै जान्छ र खुरुक्क टेबलमुनि बस्छ । कुकुर छ वा छैन भन्ने चाल पनि अरूले पाउँदैनन् । मासु–मिष्ठान्नका बास्ना सुँघेर कसरी सहेर बस्न सकेको ? हामी अचम्मित हुन्छौं । धन्य छ रोन्डा ।
रोन्डाजस्तो कुकुर पाल्नेले उसको सेवाविशेषमा कमी गर्न मिल्दैन । कुकुरलाई बेवास्ता गर्ने, अनावश्यक गाली गर्ने वा पिट्ने गर्नु हुँदैन । बेलाबखत दिसापिसाब गराउन भुल्नु हुँदैन । बाहिर डुलाउन लैजाँदा पानी बोक्नुपर्छ वा कुकुरका लागि पानी खुवाउने बन्दोबस्त भएका पार्कमा लैजानुपर्छ । ठाउँ–ठाउँमा ‘डग पार्क’ भेटिन्छ, तर रोन्डालाई अरू कुकुरसँग मिसाउन मिल्दैन ।
रोन्डाको दाँत मञ्जनले ब्रस गरिदिनुपर्छ । बेलाबखत उसका नंग्रा काटिदिनुपर्छ, ब्रसले रौं कोरिदिनुपर्छ, स्नानगृहमा लगेर नुहाइदिनुपर्छ । कुकुर नुहाउने स्नानघर सेवा बजारमा उपलब्ध छन् । कुकुरलाई प्रत्येक दिन डुलाउने र कसरत गराउन विभिन्न खेल खेलाउनुपर्छ । विशेष गरी भकुन्डो खेल्न रुचाउँछ हाम्रो रोन्डा । मोटोपनले सताउला भनेर बेलाबखत उसको ओजन लिने र अभिलेख राख्ने बानी बसाल्नुपर्छ ।
रोन्डाजस्तो सेवाप्रदायक कुकुर हुर्काउन–बढाउन अनि तालिमको दीक्षान्त समारोह गरेर सेवाग्राहीलाई हस्तान्तरण गर्दासम्म ३० देखि ५० हजार अमेरिकी डलर (रु. ३०–५० लाख) खर्च हुन्छ । सयौं स्वयंसेवक एवं सहयोगी दाता त्यस काममा संलग्न हुन्छन् । र, शारीरिक एवं मानसिक समस्यामा जिउन बाध्य मानिसका लागि कुकुर निःशुल्क प्रदान गर्छन् । सेवाग्राहीहरू योग्य ठहरिएपछि तिनलाई कुकुरसँगै करिब दुई हप्ताको सघन तालिम दिइन्छ । तालिममा कुकुर–विषय ज्ञान, विज्ञान र मनोविज्ञान पक्षलाई विशेष जोड दिइन्छ । त्यहाँ कुकुरलाई मान्छेसरह व्यवहार गर्ने संकल्प पनि गरिन्छ ।
हाम्रो रोन्डा अहिले दुई वर्षकी भइन् । गोल्डेन रिट्राइभर तथा ल्याब्रोडोरको संयुक्त स्वरूप हो– रोन्डा । उसको जन्म सुनिश्चित गर्ने व्यवसायीले पनि स्वयंसेवककै रूपमा काम गरेका थिए । लगभग ८ हप्तापछि छाउरा पालिदिने अर्का स्वयंसेवकले १६ महिना नपुगेसम्म विशेष तालिमसहित रोन्डालाई सघन तालिमका लागि तयार पारिदिए । त्यसपछि विशेषज्ञहरूले सघन रूपमा शिक्षा र तालिम दिँदै दीक्षान्तको अवस्थासम्म पुर्‍याइदिएका थिए । ‘क्यानाइन कम्पनियन फर इन्डिपेन्डेन्स’ नामक संस्थाले न्युयोर्कमा एक समारोह बीच रोन्डालाई बिदाइ गरे । रोन्डा लिन दुई वर्ष कुर्नुपर्‍यो र दुई हप्ता पूरा परिवारले कुकुरका साथ विशेष तालिम पनि लिनुपरेको थियो । रोन्डा प्रदान गर्ने संस्था सन् १९७५ मा स्थापना भएको थियो । हालसम्म यस संस्थाले ५ हजारभन्दा बढी सेवा कुकुर प्रदान गरिसकेको छ । उक्त कार्यमा संलग्न हुने स्वयंसेवकको संख्या पनि ४३ सय नाघिसक्यो । शारीरिक एवं मानसिक कारणले परनिर्भर जीवन बाँच्नुपर्नेहरूलाई आत्मनिर्भर भएर बाँच्ने आधार खडा गर्न स्वयंसेवकहरूको भूमिका प्रशंसनीय छ । नेपालमा पनि रोन्डाजस्ता मानव–सहयोगी सेवा कुकुरहरू विकास गर्ने संघसंस्थाको सम्भाव्यता खोज्न अब ढिला गर्नु हुँदैन ।

जाइलो
जाइलो पाल्तु कुकुर हो । मालिकले ‘जाइलो’ नाम जुराए पनि नस्लअनुसार यो किसहाउन्ड जातको प्राणी हो । हल्यान्डमा विकसित यो जातको कुकुरलाई ‘राकुन डग’ पनि भनिन्छ । किनभने यसको अनुहार ‘राकुन’ नामक जन्तुसँग मिल्छ । लंगुर बाँदरको जस्तो कालो चेहरामा सेतो थुतुनो र काला चम्किला आँखा यसका विशेषता हुन् । सानो कदको भए पनि लामालामा झ्याप्ले भुत्लाले यो सामान्य कुकुरभन्दा भिन्नै देखिन्छ । यसका च्यांग्रे भुत्लाभित्रका भुवादारी भुवाले शरीर न्यानो राख्छ । लाडप्यारका लागि पालिने ‘पेट डग’ का रूपमा जाइलो ज्यादै मायालु, चंखे, चकचके, चनाखो र जेहेनदार छ । जाइलो दिनभरि घरैमा हुन्छ र दिनैभर शान्त बस्छ । स्कुलबाट फर्केका केटाकेटी एवं कामबाट फर्केका आमा–बुबा घर प्रवेश गर्नासाथ सर्वप्रथम जाइलोलाई सुमसुम्याउँछन् । अति प्रसन्न भए जाइलोले विशेष प्रकारको लडीबुडी खेल प्रदर्शन गर्छ । परिवारमा सौहार्द वातावरण बनाउन जाइलोको योगदान बेग्लै छ । पाहुनालाई भुक्ने वा यत्तिकै लेस्सिएर हेलिने बानी पनि यसको छैन । घरपालुवा कुकुरलाई घर व्यवहारको राम्रो तालिम नदिए लाजमर्दो व्यवहार पनि सहनुपर्ने हुन्छ । कुकुर भन्ने प्राणीको प्राण तालिममा हुन्छ ।
खुला हावा र शारीरिक व्यायामका लागि बिहान–साँझ कुकुर लिएर पार्कतिर टहल्ने थुप्रै मान्छे हुँदा रहेछन् अमेरिकामा । सबैले आफ्ना कुकुर बाँधेरै ल्याउँछन् र तिनले बिस्ट्याए तुरुन्तै सफा गरिन्छ । सहरहरूमा बाटोबाटोमा कुकुरको फोहोर सोहर्ने प्लास्टिक थैली र फ्याँक्ने ठाउँको बन्दोबस्त हुँदो रहेछ । ठाउँठाउँमा कुकुरलाई पानी पिलाउने धारा र ‘डग पार्क’ को पनि व्यवस्था हुँदो रहेछ । बेफुर्सदी मानिस आफ्ना कुकुरलाई टहलाउन खेताला पनि लगाउँदा रहेछन् । तालिम प्राप्त खेतालाहरू ४/५ वटा घरका कुकुर लिएर तिनका गोठाला लाग्दा रहेछन् । गोठालाहरूका कुकुर त लेकाली नेपालीमा धेरै देखेको हुँ, तर कुकुरका मान्छे–गोठाला यसपालि प्रत्यक्ष देख्न पाइयो ।
काठमाडौंमा पनि बिहान कुकुर लिएर टहल्ने भलादमीको उपस्थिति बाक्लै हुन थालेको छ । कसैले पनि कुकुरको दिसा सोहोरेर सफा राख्ने कष्ट गर्दैनन् । उनीहरू बरु लट्ठी लिएर हिँड्छन् किनभने भुस्याहा कुकुरको पनि सामना गर्नुपर्ने हुन्छ ।

जोली
सानेपा, ललितपुरको घर र त्यसको कम्पाउन्डलाई आठै प्रहर पहरा दिने ‘वाच डग’ को नाम जोली थियो । जर्मन सेफार्डको वंश भएको आमा र भुस्याहा गल्ली कुकुर बाबुबाट जोली मेरै घरमा जन्मेकी थिइन् । सफा दूधजस्तै सेती छाउरी कालान्तरमा खैरो रङको टाटेपाटे हुन थालिन् । लामो थुतुनो, ठाडो कान र मझौला कदको जोली रोगव्याध प्रतिरोधक क्षमता बढी भएको भुस्याहा तथा तेज जेहेनदार मस्तिष्क हुने जर्मन सेफार्डको गुणले सम्पन्न थिइन् । वर्षमा एकपल्ट ‘एन्टिरेबिज’ र ‘डिस्टेम्पर’ को सुई दिने अनि जुकाको औषधि खुवाउनेबाहेक अरू केही औषधिउपचार गर्नु पर्दैनथ्यो । नुहाइधुवाइ पनि खासै गरिँदैनथ्यो । उपियाँ, किर्ना पर्न नदिने पाउडरबाहेक अरू सेवा आवश्यक परेन । भान्छाको बचेखुचेको खानाले जोलीको पेट पालिन्थ्यो । तालिम केही दिएको होइन, तर सबै कुरा बुझ्थिन्– ढोकामा मान्छे आउनासाथ भुक्ने, तर ‘भित्र जा’ भन्नासाथ खोरभित्र पस्ने !
घरमा पाहुना छन् भने खोरभित्रै बस्ने ! बिहानीपख हामी परेवालाई चामल दिँदा जोलीकै खोरनजिक परेवाहरू आउँथे । चामल छरेपछि जोली खुरुक्क खोरभित्र पस्थिन् । परेवाहरू उडेर गएपछि हाम्रो कम्पाउन्डमा कोही छिर्न पाउँदैनथ्यो ।
१३ वर्षकी वृद्धा जोलीले विसं ०७६ को दसैं आउनुअघि एक दिन अचानक खाना खाइनन् । मैले कुखुराको कलेजो राखेर भात खुवाउन थालेँ । थोरै थोरै खाँदै पनि थिइन् । साँझमा खोरभित्र पसिन् । भोलिपल्ट बिहान जोलीलाई बेहोस, लम्पसार र हलचल नगरेको अवस्थामा देखेँ । बोलाए आँखा खोल्ने र पुच्छर हल्लाउने मात्रै गर्थिन् । भेटेनरी सेवाका मानिस बोलाएँ । केही सुई दिने काम भयो । दुई–चार दिन भेटेनरीका चिकित्सकले स्लाइन पानी चढाइदियो । एउटा सिरिन्जले पम्प गरेर उसको मुखभित्र दूध खुवाउन थालेँ । दैनिक २/४ पटक यस्तै चल्न थाल्यो । ‘जोली’ भनेपछि पुच्छर हल्लाउँथिन् । केही दिनपछि ‘बेडसोर’ भएर घाउ पनि देखिन थाल्यो । हलचलबिनै हप्तौं बित्न थाल्यो ।
दसैं आइपुग्यो । घर र बगैंचामा काम सघाउने मानिसहरू गाउँ जाने कुरा गर्न थाले । जोली मरिहालिन् भने लास व्यवस्थापन कसरी गर्ने भन्ने पीरले जे पर्ला भनेर बगैंचाको एक छेउमा चिहानका लागि खाल्डो खन्न लगाएँ । जोली लम्पसार परेको ३४ दिन भइसकेको थियो । एक बिहान मलाई वातावरण गोष्ठीमा जानु थियो । जोलीलाई दूध खुवाएँ, ‘जोली’ भन्दा उनले पुच्छर हल्लाइन् । बिहान ९ बजेतिर म बाहिर निस्केँ । २ बजेतिर घर फर्किंदा जोलीको जीउमाथि भुसुनाहरू उडिरहेका थिए । ‘जोली’ भनेर बोलाउँदा पनि पुच्छर हल्लेन । जोलीले सास फेर्न छोडिसकेकी थिइन् । महिना दिनभन्दा लामो लगातार पीडाको अन्त्य भएछ । केही दिनमै तिहार दैलोभित्र आइपुग्यो । तर, कुकुर तिहारका दिन मेरो घरमा कुकुर थिएन । एउटा हरियो टपरीभरि चिउरा, त्यसमाथि एउटा रोटी, अलिकति टीका र अक्षता थियो । एउटा सयपत्रीको माला जोलीको चिहानमाथि राखिदिएँ । उनको बगलमा एउटा दियो बालेर कुकुर तिहार मनाएँ । एउटा पूजनीय प्राणीलाई पूजा गरेर तिहार मनाइयो ।

अन्त्यमा,
कुकुरका नैसर्गिक गुण र स्वभाव चिनेर/जानेर मानव कल्याणमा लगाउने परम्परा निकै पुरानो हो । कुकुरका विलक्षण गुणको खोजी–अनुसन्धान टुंगिएको छैन । अन्तरिक्ष यात्रामा मान्छेभन्दा पहिले कुकुरलाई पठाइएको हो । मानव र मानव यन्त्रले ठम्याउन नसक्ने कतिपय कुरा कुकुरबाटै भएको छ । क्यान्सर र कोभिडको समेत सुराक राख्न सक्ने क्षमता कुकुरले प्रदर्शन गर्न थालिसक्यो । म समस्त नेपालीसामु पुकार गर्छु– कुकुर पूजाको महिमा सिन्दूर–टीका र फूलमालामा मात्रै सीमित नगरौं ।

 

कोसेली

अजिब यात्रा–वृत्तान्त

- बीएन जोशी

 

ममोहन श्रेष्ठको किताब ‘काठमाडौं–पेरिस–काठमाडौं बस र रेल यात्रा’ ले पाठकलाई सन् १९७० को समाज र त्यसबेलाका मान्छेको कथा भन्छ । यो हिप्पीकालीन समयको एक साहसिक नेपाली केटोको रोमाञ्चक यात्रा हो । किताबको बाहिरी गातामा धेरै कुरा एकै ठाउँ लेखिएको छ, त्यसैले पाठक अलमलमा पर्न सक्छन्, किताबको खास नामचैं के हो भन्नेमा । जस्तो गातामै छ– ‘साहस र आँटले डोर्‍याएको जिन्दगी’, ‘आँटे सम्भव नहुने के
रहेछ !’, ‘एउटा नेपाली केटाको साहसिक यात्रा’ !
किताबले ५० वर्षदेखिका अनेक परिघटना समेटेको छ । किताबमा श्याममोहन श्रेष्ठले व्यक्तिगत जीवन र यात्रा मात्र नभई उसबेला नेपालका लागि फ्रान्सका राजदूतले खेलेको भूमिका र फ्रान्ससँग नेपालको सम्बन्धमाथि पनि लेखेका छन् ।
२०२७ सालमा ७ महिना लगाएर गरेको नेपाल–युरोप यात्रा एक पाना लेखाइमै सीमित भएपछिको नैराश्यतापछि श्याममोहनले ती दिनमाथि एउटा किताब लेख्ने अठोट गरे । साथीभाइले उनलाई राम्रो घोस्ट राइटर पनि नसुझाएका होइनन् । उनले मानेनन् । किताबमा लेख्छन्, ‘म संसारको करिब एक करोड किलोमिटर एक्लै यात्रा गरिसकेको मान्छेले किन मेरो जीवनयात्रा अरू कसैलाई लेख्न लगाऊँ ?’
असन नजिक त्यौडको एक ठूलो परिवारमा २००४ सालमा जन्मिएका हुन्– श्याममोहन । २०२२ सालमा जब फ्रेन्च हिप्पी युवाहरूसँग सामीप्य बढ्यो, त्यसपछि उनमा फ्रान्सप्रतिको लगाव व्यापक बढ्न थाल्यो । सोल्टी होटलमा खुलेको क्यासिनोको जागिरले फ्रान्स जाने उत्कण्ठालाई आर्थिक रूपमा सहज बनाइदिएको थियो । फलस्वरूप उनले २३ वर्षमै पेरिसको यात्रा शुभारम्भ गरे । भारतको पटना, दिल्ली हुँदै अफगानिस्तान पहिलो चरणको यात्रा थियो । त्यतिखेर अफगानिस्तान हब थियो, हिजोआजको दुबई र दोहाजस्तै । जुन देश पुगिन्छ, त्यहीँको राजदूतावासबाट अर्को देशको भिसा लिन पाइने कुरा सुन्दा नेपाल आजको तुलनामा हिजो निकै शक्तिशाली रहेछ भन्ने महसुस हुन्छ । दिल्लीमा भेटिएका एक जर्मन बूढाले अफगानिस्तानको टिकट लिँदा फकाउँदै उनलाई १० डलर दिन्छन् । र, बदलामा काबुलको होटलमा एकै बेडमा सुत्ने प्रस्ताव राख्छन् । प्रस्तावपछि उनी पैसा फिर्ता गरिदिन्छन् । कलिला युवक देख्दा घुटुक्क थुक निल्ने मान्छे असंख्य थिए र छन् । उनले बसबाट पाँच दिन लगाएर तेहरान हुँदै इस्तानबुल पुग्दाको रोमाञ्चकता, नौला भूगोलसँगको साक्षात्कार, इस्तानबुल बसाइमा ओट्टोमनकालीन ऐतिहासिक स्थल (ब्लु मस्क, बोसफोरस, ग्रान्डबजार, ताक्सिम स्क्वायर) को भ्रमणका चर्चा सुन्दर ढंगले गरेका छन् ।
श्याममोहन इस्तानबुलतिर बरालिँदै गर्दा भेटिएकी एक छोरीकी आमासँगको सम्बन्धले नाटकीय रूप लिएको छ । आमाको मनसाय छ– छोरीको बिहे उनै यायावर युवा श्यामसँग होस् ! आमाले उनको साथ नछोडेको र अन्त्यमा छुट्टिनुपरेको विषयले भावुक बनाउँछ । टर्कीको बसाइलाई बिट मारेर बुल्गेरिया, युगोस्लाभिया, इटालीको मिलान हुँदै रेलमार्फत १८ एप्रिल १९७० को दिन फ्रान्सको मर्सिल्ले प्रवेश गरेर श्याममोहनले आफ्नो लक्ष्य पूरा गरे । खल्तीमा पैसा रित्तिसक्दासमेत पेरिसबाट बेलायत र अमेरिका जाने योजनाले उनको अजिबको दृढता देखाउँछ । अनेक अभावका बावजुद पनि एकपछि अर्को राष्ट्रको भ्रमण गर्दै अघि बढ्नुमा उनको लगाव गजबको छ । अल्लारे उमेरमा गरिएको त्यो यात्रालाई उनी आफैंले अदूरदर्शी भनी मूल्यांकन गरेका छन् । तर, जतिसुकै हन्डर खानुपरे पनि ती दिनलाई अनेक अनुभवका उपलब्धि ठानेका छन् ।
फ्रान्सबाट नेपाल फर्किएपछि साथीभाइले श्याममोहनमाथि अनेक नकारात्मक टिप्पणी गरे । उनको हुलिया–हाउभाउ पूरै बदलिएको थियो । एयर फ्रान्सको जागिरमा मस्त रहँदा उनको जीवनमा एक अमेरिकी युवती क्याथीको आगमन हुन्छ । नेपालमै बस्ने भएपछि क्याथीले भाषा सिक्नु जरुरी थियो । क्याथीलाई नेपाली भाषा पढाउने गुरु खगेन्द्र संग्रौला रहेछन् । क्याथीसँग श्याममोहनको बिहे हुन्छ । बिहेपछि पाँच–छ वर्ष उनीहरू सँगै बस्छन् । र, सहमतिमै अलग हुन्छन् । त्यसपछि श्याममोहनको जीवनमा सिन्धुपाल्चोक, सेर्माथानकी शेर्पिनी ठोक्किन आइपुग्छिन् । त्यसपछिका पारिवारिक उतारचढाव प्रशस्तै छन् । ३७ वर्ष बसेको बूढानीलकण्ठको आफ्नो मिराबेल दरबार बेच्न बाध्य हुन्छन् । गुमाउने–जमाउने क्रममा श्याममोहन धुलिखेलमा मिराबेल होटल खोल्छन्
(सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मिराबेल होटल उद्घाटन गरेका थिए) । माओवादी युद्धको असर होटलमा परेपछि श्याम आर्थिक समस्यामा पर्छन् । अन्त्यमा होटल बेच्नुपरेको अवस्था र बैंकको लिलामबाट बचाएर बिक्री गर्न खोज्दाको संघर्ष ज्यादै कष्टपूर्ण छ । लामो समयको हवाई क्षेत्रको अनुभव र उच्च व्यापारिक घरानासँगको उनको उठबसका कथा रोचक छन् । कतिपय साथीभाइले उनको सहयोगलाई व्यापक दुरुपयोग गरेको लेखेका छन् । अनेक देशी–विदेशी उच्च ओहोदाका व्यक्तिसँग राम्रो सम्बन्ध छँदासमेत उनले कुनै लाभ नलिएको लेखेका छन् । उनले कति इमानदार भएर किताब लेखे, त्यो उनैको जिम्मा ।
श्याममोहन कुनै बेला दिल्ली जानुपर्ने मान्छे कोलकाता पुगेका छन् । अति सामान्य झन्झटबाट मुक्ति पाउन अमेरिकी ग्रिनकार्ड त्यागिदिएका छन् । किताबमा घटना र किस्सा कति छन् कति ! सयौंको संख्यामा फोटोहरू छन्, जसले तत्कालीन परिवेशलाई यथार्थमा परिणत गराउँछ । किताबमा केही गडबडी अवश्य छन् । कतिपय हरफ दोहोरिएका छन् । दुईथरी मितिले पाठकलाई अलमल गराउँछ । अर्को संस्करणमा ती गल्ती सच्याउन सकिन्छ, तर बितेका जीवन र क्षण कसैगरी पनि सच्याउन सकिँदैन ।