You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

गोदावरीमा पारित विधान सौराहामा संशोधन

- मणि दाहाल

(सौराहा, चितवन) - नेता व्यवस्थापनमा सकस परेपछि एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् ।
महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो पनि ब्युँताउने निर्णय गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाइए पनि पार्टीका मुख्य पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा चुनाव हुने सम्भावना टरेको छैन ।
१० बुँदे सहमति गरेर एमालेमा बसेका र पूर्वमाओवादी समूहलाई समेट्दै कम्तीमा पदाधिकारीमा सर्वसम्मत गराउने रणनीतिमा रहेका अध्यक्ष केपी शर्मा ओली आफूनिकट नेताहरू नै एउटै पदमा भिड्ने स्थिति आएपछि दबाबमा छन् । एकताको मनोविज्ञान तयार पार्न पदाधिकारी थपेर भए पनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आवाज बलियो बन्दै गएको थियो । ‘महाधिवेशनको अभिभारा नेताहरूको व्यवस्थापन होइन’ भन्दै आएका ओली उम्मेदवारी मनोनयनको अघिल्लो दिन पदाधिकारीको संख्या थप गर्न तयार भएका हुन् ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थप्ने निर्णय भएसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव हुनेछन् । दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो । ‘केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र शुभचिन्तकको जोड सर्वसम्मतबाट नेतृत्व चयन होस् भन्ने सुझाव थियो, त्यसैलाई मध्यनजर गर्दै पदाधिकारीको संख्या थप्ने निर्णय गरिएको हो,’ भट्टराईले भने । केन्द्रीय कमिटीको आकार बढाएसँगै महिला एकतिहाइ अर्थात् कम्तीमा सय जना छानिने भएका छन् ।
यस्तै, पोलिटब्युरो ९९ सदस्यीय हुने गरी ब्युँताइएको छ । माओवादी केन्द्रसँग एकता भएपछि नेकपा र पछि एमालेमा पनि पोलिटब्युरो खारेज गरिएको थियो । शुक्रबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग २५–२५ सदस्यीय हुने निर्णय पनि गरेको छ । यसअघि आयोग १५–१५ सदस्यीय हुने व्यवस्था थियो । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको विधान संशोधन गर्ने निर्णय प्रस्तावका रूपमा बन्दसत्रमा लगेर पारित गरिएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।
अब पदाधिकारीमा सर्वसम्मत हुने सम्भावना बढेको प्रचार विभाग प्रमुख भट्टराईले बताए । तर, अध्यक्षमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले दाबी छाडेका छैनन् । रावलले सर्वसम्मतिको विषयमा आफूलाई केही थाहा नभएको बताए । ‘अध्यक्षमा म उम्मेदवारी दर्ता गर्छु, सर्वसम्मतिका बारेमा मलाई जानकारी छैन,’ केन्द्रीय कमिटीको बैठकपछि उनले भने । पदाधिकारी थप्ने निर्णय गराउनुअघि ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरूबीच अनौपचारिक बैठक गरेका थिए ।

पार्टीका महत्त्वपूर्ण दुई पद वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति जुट्न सकेन । ‘तपाईंहरूबीच सहमति भयो ?’ वरिष्ठ उपाध्यक्ष र महासचिवका दाबेदारहरूसँग ओलीले प्रश्न गरेका थिए । एमाले स्रोतका अनुसार सबै नेताले आ–आफ्नो दाबेदारी स्वाभाविक रहेको तर्क राखेका थिए । ‘गत महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकर पोखरेललाई यसपालि महासचिव बनाउँदा आन्तरिक लोकतन्त्रको विषयमा गलत सन्देश जान सक्छ भनेर पृथ्वीसुब्बा गुरुङलगायत नेताले ओलीलाई सतर्क बनाउनुभयो,’ स्रोतले भन्यो, ‘तर, जबजको व्याख्याताका रूपमा शंकर बराबरको नेता एमालेमा नभएको भन्ने अर्को पक्षको दाबी थियो ।’ शंकरलाई महासचिव चयन गर्नुपर्ने धारणा महासचिव ईश्वर पोखरेल र स्थायी समिति विष्णु रिमालले राखेका थिए । पौडेलका पक्षमा नेता सुवास नेम्वाङ र सचिव गुरुङ थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा पनि ईश्वर कि सुवास भन्ने विषय पनि त्यत्तिकै पेचिलो बनेको छ । दुई कार्यकाल महासचिव भएका ईश्वरले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनु अनौठो नभएको सहकर्मीहरूसँग बताउने गरेका छन् । त्यसो त घनश्याम भुसालले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए, तर उनले उपाध्यक्षमा उठ्ने घोषणा गरेका छन् । ‘उता, सुवासजीले वरिष्ठ उपाध्यक्षमा मेरो दाबेदारी फिर्ता हुँदैन भन्नुभएको छ, त्यसैले घनश्यामले उपाध्यक्षमा उम्मेदवारी दिन थाल्नुभएको छ,’ एमालेका अर्का नेताले भने ।
शंकरलाई महासचिव बनाउनुपर्ने पक्षमा ओलीनिकट पूर्वविद्यार्थी र मदन भण्डारी फाउन्डेसनमा सक्रिय नेताहरू देखिएका छन् । पौडेलका पक्षमा ओली समूहकै अर्को तप्का छ । १० बुँदे सहमति पक्षधर र पूर्वमाओवादी समूहको साथ पनि उनलाई छ । पूर्वमाओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा भने यस विषयमा मौन छन् । उनी एमालेमा रहेदेखि नै अध्यक्ष ओलीको संकेतअनुसार खुल्ने गरेका छन् । आठौं महाधिवेशनमा एमाले बहुपदीय प्रणालीमा गएपछि ओली समूहबाट पौडेल र पोखरेल सचिवमा विजयी भएका थिए । नवौं राष्ट्रिय महाधिवेशनमा ओली समूहबाट दुवै नेताले उपमहासचिवमा प्रतिस्पर्धा गरेका थिए । पौडेल मात्रै विजयी भए । दुई उपमहासचिवमध्ये एकमा अर्को प्यानलका भुसाल विजयी भएपछि पोखरेलनिकट नेताहरूले पौडेलले अन्तरघात गरेको आरोप लगाएका थिए । नेकपा हँॅदै लुम्बिनीका उनीहरूबीच प्रदेशको राजधानीका विषयमा पनि विवाद देखिएको थियो । पोखरेलले लुम्बिनीको मुख्यमन्त्री भएका बेला पौडेलको गृहनगर बुटवलबाट राजधानी आफ्नो गृहजिल्ला दाङ पुर्‍याएका थिए । त्यसको छाया उनीहरूमा अहिले पनि रहेको कतिपयको धारणा छ । नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्नेमा उपमहासचिव पौडेलको साथ देखिएको छ । नेम्वाङले आफूसँग भेट्न आउने नेताहरूलाई आफू अडान लिएपछि नछाड्ने नेता भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । ‘सर्वसम्मतिका लागि प्रयास हुन्छ तर अहिलेसम्म आ–आफ्नो दाबी कायमै छ,’ शुक्रबार मध्यरातमा उनले कान्तिपुरसँग भने । विधान महाधिवेशनमा पोखरेलनिकटका नेताहरूले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्नका लागि विभिन्न समूहमा लबिइङ गरेका थिए । आगामी महाधिवेशनमा ७० वर्षको उमेर हदका कारण बिदा लिनुपर्ने बाध्यतामा रहेका दुवै नेताले वरिष्ठ उपाध्यक्ष भएर सम्मानजनक बहिर्गमन चाहेका छन् । दुई पटक महासचिव भइसकेका पोखरेललाई त्यही पदमा दोहोरिन विधानले दिँदैन ।

भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने
पदाधिकारीमा महिला नेताहरू अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डे, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फेले पनि दाबी गरेका छन् । तर उनीहरूले सार्वजनिक रूपमा केही बताएका छैनन् । शनिबार बन्दसत्र सुरु हुनुअघि आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा घोषणा गर्ने उनीहरूको तयारी छ । सचिव योगेश भट्टराईले उही पदमा दोहोरिन चाहेको बताएका छन् । केन्द्रीय कमिटीमा करिब पाँच सय नेताले आकांक्षा देखाएका छन् ।

 

मुख्य पृष्ठ

देखियो कोभिडको नयाँ भेरिएन्ट

- अतुल मिश्र

(काठमाडौं) - दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९
नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ ।
वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’
दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो ।

जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ । एनआईसीडीका कार्यकारी निर्देशक प्रा. एड्रियन पुरेनले भनेका छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरिएन्टको सम्भावित प्रभाव के–के हुन सक्छन् भनेर बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । तर यसको विकास तीव्र गतिमा भइरहेको देखिन्छ ।’
दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि पत्ता लागेका कोभिड–१९ का भेरिएन्टमध्ये बी.१.१.५२९ धेरै भिन्न प्रकृतिको र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् । उनले यो भेरिएन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन स्पाइक प्रोटिनमा मात्र भएको उल्लेख गरेका छन् । कोभिडविरुद्धको खोप स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइन्छ, यदि प्रोटिनको स्वरूपमै परिवर्तन आएको खण्डमा खोप प्रभावकारी हुँदैन । वैज्ञानिकका अनुसार सबै उत्परिवर्तन भाइरसका लागि राम्रो मानिँदैन, यदि स्पाइक प्रोटिन परिवर्तित भएको खण्डमा भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा गरी ६१ जनामा देखिएको छ ।
वैज्ञानिकहरूले नयाँ भेरिएन्टमा कोभिडको खोपले काम नगर्ने र संक्रमणको दर तीव्र हुनुका साथै बिरामीमा गम्भीर लक्षण देखा पर्न सक्ने बताएका छन् । नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा पछिल्लो समय देखिएको महामारीको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ । तर डेल्टा भेरिएन्टको दाँजोमा ‘बी.१.१.५२९’ को ‘रिसेप्टर बाइन्डिङ डोमेन’ मा समेत १० प्रकारको परिवर्तन (म्युटेसन) पाइएको हुँदा अत्यन्त सतर्कता अपनाउनुपर्ने भाइरोलोजिस्ट एवं प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले बताए । ‘बेलायती वैज्ञानिकले समेत नयाँ भेरिएन्टलाई लिएर चेतावनी दिएका छन् । नयाँ भेरिएन्ट आफ्नो स्पाइक प्रोटिनमा परिवर्तन गरेर तीव्र गतिले फैलिइरहेको छ ।’ उनले नेपालीहरूको बाक्लो उपस्थिति रहेको हङकङमा समेत नयाँ भेरिएन्ट देखिनु चिन्ताको विषय भएको बताए । ‘दक्षिण अफ्रिकाका साथै नेपालीको उल्लेख्य उपस्थिति रहेको हङकङमा समेत नयाँ भेरिएन्ट फेला पर्नु नेपालका लागि खतराको संकेत हो । त्यसैले अत्यन्त सतर्कता अपनाउनुपर्ने खाँचो छ,’ उनले भने । हाल नेपाल वायुसेवा निगमले काठमाडौं–हङकङ उडान सातामा एक दिन गरिरहेको छ ।
नयाँ भेरिएन्टका कारण महामारीको जोखिम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार आकस्मिक बैठक बोलाएको छ । डब्लूएचओका महामारीविद् डा. मारिया वान केरखोबले कोभिड भाइरसको नयाँ भेरिएन्टबारे जानकारी दिँदै भनेकी छन्, ‘यो भेरिएन्टबारे हामीलाई धेरै थाहा छैन । यति भन्न सक्छौं कि यसको धेरै स्वरूप परिवर्तन भइसकेको छ । यो भाइरसको प्रभाव जान्न हामीलाई केही साता लाग्छ ।’ डब्लूएचओले शुक्रबार नै दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफलसमेत गरेको छ ।
दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले पनि सूचना जारी गर्दै नयाँ भेरिएन्ट सोचिएभन्दा छिटो फैलिइरहेको उल्लेख गरेको छ । तर डेल्टा भेरिएन्टजस्तो संक्रामक छ/छैन भन्ने यकिन हुन भने बाँकी रहेको विभागले जनाएको छ । दैनिक दुई सयजति नयाँ संक्रमित देखिइरहेको दक्षिण अफ्रिकामा बिहीबार मात्र एक्कासि त्यो संख्या बढेर २ हजार ४ सय ६५ पुगेको छ । दक्षिण अफ्रिकामा हालसम्म २४ प्रतिशतले मात्र खोपको पूर्ण डोज लिएका छन् । बेलायतले नयाँ भेरिएन्ट भित्रिन नदिन दक्षिण अफ्रिकालगायत ६ वटा अफ्रिकी मुलुकबाट हुने आवागमनलाई रोक लगाउने निर्णयसमेत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले नयाँ भेरिएन्ट भेटिएका र संक्रमण बढेका मुलुकबाट आउने सबै यात्रुलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत सतर्कता अपनाउन थालिएको जानकारी दिए । ‘यात्रामा रहेका मात्र नभएर हामीसमेत जोखिममा छौं,’ डा. पौडेलले भने, ‘जुन देशमा नयाँ भेरिएन्ट देखिएको छ, त्यहाँबाट आएका यात्रुलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत थप स्वास्थ्य सतर्कता अपनाउन थालिसकेका छौं ।’

Page 2
समाचार

चुनावी तयारीमा लाग्न ओलीको निर्देशन

- गंगा बीसी

(नारायणगढ, चितवन) - एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनावको तयारीमा लागेको उल्लेख गर्दै एकल बहुमत ल्याउने दाबी गरेका छन् । नारायणी नदी किनारमा शुक्रबार पार्टीको दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशभरबाट जम्मा भएका नेता–कार्यकर्ताको आत्मबल बढाउने गरी देशको सार्वभौमसत्ताको रक्षा, विकास र संविधानलाई सही बाटोमा डोर्‍याउन एमालेको एकल बहुमत चाहिने तर्क गरे । सत्ता गठबन्धनका नेताहरू सहभागी भएको मञ्चबाट उनले आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।
‘निकट भविष्यमा चुनावहरू आउँदै छन्, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं, हामी जनमतको तयारी गर्नेछौं,’ उनले भने, ‘जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ । एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि हो । देशको सार्वभौमताको रक्षा गर्नका लागि हो । देशमा लोकतन्त्र फेरि गुम्न नपाओस्, त्यसको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि । संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्छ ।’
देशमा ठूलो राजनीतिक समस्या नरहेको उल्लेख गर्दै आगामी दिनमा विकासका लागि एमालेको सरकार चाहिने ओलीको भनाइ थियो । विगतमा आफूले संसद् विघटन गरेर चुनाव घोषणा गरेको र त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिएकामा उनले असन्तुष्टि व्यक्त गरे । संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्न एमालेले बहुमत ल्याउनुपर्ने ओलीको तर्क छ । ‘गलत बाटो नजाऊँ, अध्यादेश परमादेशको बाटो नजाऊँ, परमादेशबाट सरकार नबनाई बरु जनताका बीचमा जाऊँ भनेर आग्रह गरेका थियौं,’ उनले भने, ‘जनताका बीचमा जान अरू राजनीतिक शक्ति त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।’ ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका थिए । जसलाई सर्वोच्च अदालतले गैरसंवैधानिक कदम भन्दै बदर गरेको थियो ।
ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूगोल हामीले नेपालको नक्सामा समेटेका छौं, त्यसलाई संविधानको अंग बनाएका छौं तर त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट जमिन फिर्ता लिनेछौं । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी जमिन फिर्ता लिएर वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौं ।’
नेपालले सबै छिमेकी राष्ट्रसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्न चाहेको उनको भनाइ थियो । ‘हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौं, ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ, एमाले यस्तो समानतामा विश्वास राख्दछ,’ उनले भने । उनले एमालेले कसैलाई पनि शत्रु र मित्रका रूपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको बताए । उनले भने, ‘पारस्परिक हित, पारस्परिक सम्बन्धका आधारमा हाम्रो विदेश सम्बन्ध अघि बढ्छ । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता भन्ने हाम्रो मूलनीति हो । हामी त्यस नीतिलाई अवलम्बन गर्छौं । हाम्रा छिमेकीसँग कतिपय कुरा छलफल गरेर टुंग्याउनुपर्नेछ ।’ उनले स्वाधीनता भन्ने गरिएको तर त्यसको प्रयोग हुन नसकेको बताए । ‘एमालेले स्वाधीनताको अभ्यास गर्न चाहेको छ, एमाले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता चाहन्छ,’ उनले भने ।
ओलीले नेकपा हुँदा होस् वा एमालेमै रहँदा आफूलाई काम गर्न नदिनेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातेको भन्दै व्यंग्य गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि कटाक्ष गरे । काम गर्न चाहेका भए पनि दाहाल र नेपालले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेको ओलीको भनाइ थियो । ‘अहिलेको सरकारका सम्बन्धमा केही भन्न चाहन्नँ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गरेका छौं, उहाँलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । प्रधानमन्त्री सायद काम गर्न चाहनुहुन्थ्यो कि π,’ देउवातर्फ इंगित गर्दै उनले भने, ‘तर प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ कि π मलाई अप्ठ्यारो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराखेका छन् ।’
ओलीले नेकपा हुँदैदेखि आफूले काम गर्न चाहे पनि पार्टीभित्रैबाट असहयोग भएको आरोप लगाउने गरेका थिए । यो विषयलाई उनले आगामी चुनावमा राजनीतिक एजेन्डा बनाउन खोजेका हुन् । उनले शान्ति प्रक्रियालाई लिएर माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि प्रश्न गरेका छन् । देशमा अझै द्वन्द्वका घाउहरू रहेको र यसलाई चाँडै टुंग्याउनुपर्ने उनको भनाइ थियो । ‘देशमा अहिले पनि द्वन्द्वका घाउहरू छन्, शान्तिप्रक्रिया टुंग्याउनै बाँकी छ,’ उनले भने, ‘घाइतेको उपचार किन हुँदैन ? शान्तिप्रक्रिया किन टुंगो लाग्दैन ? बहिर्गमित लडाकुको समस्या किन समाधान हुँदैन ?’
ओलीले शान्ति प्रक्रिया सही ढंगले टुंग्याउनुपर्ने र त्यो काम एमालेले गर्ने बताए । उनले प्रधानमन्त्री देउवाले चाहेर पनि शान्ति प्रक्रिया टुंग्याउन नसक्ने दाबी गरे । द्वन्द्वका कारण हिजो घरबारविहीन भएकाहरूलाई रोजगारी दिन आग्रह गर्दै उनले महाधिवेशनपछि आफ्नो पार्टी पूर्वलडाकुका समस्या सम्बोधनमा लाग्ने बताए । उनले दसौं हजार लडाकु एमालेमा प्रवेश गर्न थालेको दाबी गर्दै भने, ‘नेकपा एमाले पूर्वलडाकुहरूको पनि पार्टी हो, भ्रममा नपर्नुस् ।’
पूर्वलडाकुको त्यागको प्रसंग उठाउँदै ओलीले अप्रत्यक्ष रूपमा माओवादी अध्यक्ष दाहालको नियतमाथि प्रश्न तेर्स्याए । ‘हिजो त्याग कसका लागि रहेछ ? कसलाई मेयर र मन्त्री बनाउन रहेछ ? राजमार्ग त तपाईंहरूले बनाउनुभयो तर त्यसको फाइदा लिनेहरू को भए देख्नुभएको छ ?’ उनले भने । ओलीले फागुनसम्म एमालेमा प्रवेशको लहर चल्ने दाबी गरे ।
एमालेको राष्ट्रिय महाधिवेशनमा शुभकामना दिँदै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतिलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताए । ‘हामीबीच नीतिगत विषयमा रहेका विमतिलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ,’ उनले भने, ‘सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध छ ।’
नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएको स्मरण गराउँदै देउवाले संविधान संस्थागत गर्ने जिम्मेवारी सबै दलको भएको बताए । ‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु,’ उनले भने, ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यकता छ ।’ देउवाले लोकतान्त्रिक मूल्य र जीवन्तता, व्यक्तिगत स्वतन्त्रताको रक्षा र राष्ट्रिय स्वाधीनता तथा अखण्डता जोगाउन सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अन्य राजनीतिक दलका शीर्ष नेता आए पनि एमाले दसौं महाधिवेशन उद्घाटनमा निम्त्याइएका माओवादी केन्द्रका अध्यक्ष दाहाल सहभागी भएनन् । दाहालले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएका थिए । पोखरेलले कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । सबैको साझा प्रयास भएमात्र मुलुकले कोल्टे फेर्न सक्ने उनको भनाइ थियो । ‘कसैको एक्लो यात्राले मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र जनताको आकांक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न कठिन छ, समाजवादको परिकल्पना त दूरको कुरा हो तर एउटा सत्य के हो भने हामी ‘माउ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहँदैनौं,’ उनले भने, ‘एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास सबैको रहने हो भने मुलुकले कोल्टे फेर्न सक्छ । समाजवादी क्रान्तिले नयाँ दिशा पक्रन सक्दछ ।’
एमाले महाधिवेशनलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको विविधतालाई एकतामा, एकतालाई विविधतामा राख्न सक्ने लोकतान्त्रिक संविधानको अभाव भएको बताए । ‘शान्ति, संघीयता, सुशासन, आर्थिक समृद्धिको सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको छ । ऐतिहासिक जनआन्दोलनका उपलब्धिलाई जालझेल र छलछामबाट निकालेर जनताले अनुभूत गर्ने गरी ज्वलन्त तुल्याउने समय खेर गइरहेको छ,’ उनले भने । उनले राज्यका अंगहरू पछिल्लो समय निष्क्रिय र निष्प्रभावी बन्दै आएको र यिनलाई सक्रिय र प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग सम्बोधन नभए २०औं लाख मानिस सडकमा आउने बताए । ‘संविधान संशोधनको माग पूरा भएको छैन, राजबन्दीहरूको मुद्दा फिर्ता गरिएको छैन, लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन,’ उनले भने, ‘अब माग सम्बोधनको समय आयो । सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, माग सम्बोधन नभए मानव साङ्लो फेरि पनि सडकमा उत्रन सक्छ । हामी चाहन्छौं– त्यो अवस्था नआओस् ।’
उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन गएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका वाम शक्तिहरू एकले अर्कालाई दोषारोपण गरिरहेको बताए । उनले जतिसुकै अन्तर्विरोध भए पनि देश र जनताका लागि सबै शक्ति मिलेर जानुको विकल्प नभएको बताए । ‘जनताले कम्युनिस्ट पार्टीहरूमा अन्तर्विरोध नहोस् भन्ने चाहेका छन् तर व्यवहारमा त्यस्तो देखिएन,’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेर नेपाली जनतालाई गुन लगाएको बताए । थापाले एमाले र केपी ओलीलाई दुई कारणले देशले सम्झिरहने बताए । ‘मधेसमा देखापरेको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको आन्दोलनलाई स्थगित गर्न केपी ओलीको नेतृत्वले काम गरेको छ, उहाँकै नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमा रक्षाको निमित्त प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ नक्सा बनाएर संविधानमा संस्थागत गरी नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाउनुभएको छ,’ उनले भने, ‘यही कारणले गर्दा यो सम्मेलनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु । देशलाई संकटबाट जोगाउन र देश बचाउन तपाईंहरूलाई पूर्णरूपमा सफलता प्राप्त होस् ।’
एमाले महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक एवं नेता रामबहादुर थापाले पार्टीको विधान महाधिवेशनले एमालेलाई सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको सन्देश दिएको बताए ।

Page 3
समाचार

एमालेमय चितवन

- प्रताप विष्ट,सुवास बिडारी

(चितवन) - एमालेको दसौं महाधिवेशन उद्घाटनको दिन शुक्रबार चितवनको यातायात अस्तव्यस्त बन्यो । देशका विभिन्न क्षेत्रबाट चितवन भित्रिएका सवारीलाई व्यवस्थित रूपमा तोकिएको स्थानमा रोक्न नसक्दा महाधिवेशनस्थल प्रवेश तथा राजमार्ग क्षेत्र पूर्णरूपमा अस्तव्यस्त बनेको थियो ।
उद्घाटन समारोहमा सवारी र भीड व्यवस्थापन गर्न प्रहरी, सशस्त्र र ट्राफिक गरी करिब २ हजार ५ सय सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक परिचालित भए पनि मुख्य बजार क्षेत्र अस्तव्यस्त बन्यो । विभिन्न जिल्लाबाट आएकाहरू नारायणी तीरमै नपुगी फर्किए । ‘धेरै भीड भएका कारण महाधिवेशनस्थलमै नपुगी फर्कियौं,’ बर्दिया बडैया–९ की चन्द्र भुजेलले भनिन् । उनले भीडका कारण चार घण्टा साथीहरूसँग छुट्टिएर बस्नुपरेको बताइन् ।
महाधिवेशन स्थलमा प्रवेश गर्न नसकेपछि नारायणी पुलबाटै हजारौं कार्यकर्ताले नेताहरूको भाषण सुनेका थिए । ‘भार बढी भएर पुल नै भूकम्प आएको जसरी हल्लियो, धन्न केही भएन,’ भक्तपुर–३ का रामेश्वर भैलले भने । पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिमपूर्ण अवस्था सिर्जना भएको थियो । ४ सय २० मिटर लामो यो पुल २०३७ मा निर्माण भएको थियो । यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ पुल निर्माण गर्न विज्ञहरूले सुझाएको स्थानीयले बताएका छन् ।
भक्तपुर–४ का कृष्णप्रसाद चौहालले महाधिवेशन नीति र नेतृत्वभन्दा पनि शक्ति प्रदर्शनका रूपमा परिणत हुँदा यस्तो अवस्था सिर्जना भएको बताए । ‘महाधिवेशनले नीति र आगामी कार्यदिशा तय गर्नुपर्ने हो तर त्यसो भएन,’ उनले भने । उनले सर्वसाधारण र कार्यकर्ताले दुःख नपाउने गरी महाधिवेशन गर्नेतर्फ दलहरूको ध्यान पुग्न जरुरी रहेको औंल्याए । विभिन्न जिल्लाका सहभागी उद्घाटन समारोह सकिँदासम्म पनि महाधिवेशन स्थलतर्फ जाँदै थिए ।
महाधिवेशन उद्घाटन समारोह सुरु हुनुभन्दा एक घण्टा अगाडिबाट चितवन र नवलपरासी जोड्ने नारायणी पुलमा भएको सवारी जामका कारण बिरामी बोकेको एम्बुलेन्स घण्टौं रोकिएका थिए । चितवनतर्फ सातवटा बिरामी बोकेको एम्बुलेन्स र एउटा नेपाली सेनाको सवारीका साथै थुप्रै यात्रुवाहक र साना सवारीसाधन जाममा रोकिएका थिए । एम्बुलेन्स जाममा फसेसँगै ट्राफिक प्रहरी, नेपाल प्रहरी र सेनाले लामो प्रयास गर्दा पनि समस्या समाधान हुन सकेन ।
उद्घाटनका दिन सडकमा सवारी चल्न नदिने भने पनि नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । चितवनबाट नवलपरासी गइरहेका तीनवटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले बाटो खुलाउन नसक्दा यतै फर्काएको थियो । ‘१२ बजेदेखि एम्बुलेन्सभित्रै छौं, केही खान र चार दिनको बच्चालाई केही खुवाउन पाएका छैनौं,’ शुक्रबार साँझसम्म एम्बुलेन्समै फसेकी गैंडाकोट–७ गैरीकी सुत्केरी २५ वर्षीया लक्ष्मी सापकोटाले भनिन् । उनीसँगै रहेका उनका परिवारका सदस्य भने आत्तिएर प्रतिक्रियाविहीन भइरहेका थिए ।
ट्राफिकलाई सोधेरै आए पनि जाममा फसेको उनीहरूले बताइरहेका थिए । उनीसँगै रहेका १० जना यात्रु पनि कारभित्रै गुम्सिएर दिनभर बस्न बाध्य भएका थिए । देशको पूर्वी र पश्चिम क्षेत्रबाट आएका एमाले कार्यकर्ता महाधिवेशन स्थल प्रवेश पुलनजिकैबाट गर्नुपर्ने भएका कारण उक्त स्थानमा जाम भएको हो । ‘हामीले भीड हटाएर राजमार्ग सञ्चालन गर्न खोजेका हौं तर सकेनौं, पुलबाट महाधिवेशन स्थल सजिलै देख्न र फोटो खिच्न सहज हुने हुँदा मानिसको घुइँचो लाग्यो,’ वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले भने ।
बाजुराबाट मंसिर ७ मा हिँडेका कलकबहादुर सिंह शुक्रबार मात्र चितवन आइपुगे । ‘शुक्रबार रातिबाट बस्ने स्थान टुंगो लागेको छ, तीन दिनको यात्रा बसमै भयो,’ उनले भने । उनीजस्तै देशभरबाट आएका कार्यकर्ताले बस्ने स्थान नपाउँदा बसमै रात बिताए । उनीहरूले नारायणी र राप्ती किनारमा खाना पकाएर खाए । ललितपुरबाट आएको दुई सय जनाको टोलीले नारायणी किनारमा मादल बजाएर दोहोरी गाउँदै बिहीबारको रात काटेका थिए । शुक्रबार बिहान मौलाकालिका मन्दिरको दर्शन गरेर नारायणी तीरमा मादल बजाउँदै गरेकी भक्तपुर चाँगुनारायण–८ की चन्द्रकला दुलालले गीतबाटै आफ्नो पार्टी र नेताको प्रशंसा गरिरहेकी थिइन् । महाधिवेशनमा सहभागी हुन चितवन आएकालाई कोठा अभाव भएपछि हलमै समेत सुत्ने प्रबन्ध व्यवसायीले मिलाएका थिए । कोठा नभएका धेरैले बसमै रात बिताएका छन् ।
पूर्व र पश्चिमबाट रातभर बसमा आएका केही सहभागी सभास्थलकै चौरमा सुतेका थिए । केही सहभागी नारायणी नदीमै बोटिङ गर्न व्यस्त थिए । टाढाटाढाबाट आएका सहभागी नारायणी किनारामा खाना पकाएर खाइरहेका थिए । उनीहरूले पकाउने खाद्यान्न र भाँडाकुँडा बसमै ल्याएका थिए । उद्घाटनमा सहभागी हुन १३ महिने छोरी पिठ्युँमा बोकेर आएकी रोल्पाकी २६ वर्षीया नरमाया पुन उत्साहित हुँदै घर फर्केकी छन् । नारायणी किनारमा धेरै भीड भएका कारण पुलनजिकको सडकछेउमा बसेर उनले भाषण सुनिन् । ‘मानिस औधी भेला भएका रहेछन्, खुसी लाग्यो,’ उनले भनिन् । उनको साथमा पति र सासू पनि थिए । उनीहरूलाई घर फर्कनका लागि बससम्म पुग्न पनि हम्मे भएको थियो ।
दाङका ६७ वर्षीय भगवान चौधरी पनि महाधिवेशनमा सहभागी हुन आएका थिए । ‘मान्छे धेरै देखियो तर नेताहरूको कुरा राम्रोसँग सुन्न पाइएन । बेलाबेला माइकको आवाज नआउने भएकाले त्यति राम्रो सुन्न पाइएन,’ उनले गुनासो गरे ।
रौतहटबाट आएका गमरियाका सन्तलाल यादवले महाधिवेशन स्थलमा आइपुग्न झन्डै एक घण्टा हिँडेर आउनुपरेको बताए । ‘तर धेरै मानिस देखियो, नेताहरूको कुरा सुनियो, राम्रै लाग्यो,’ उनले भने । पूर्वतर्फबाट आएका बस टिकौलीमै रोकिएका थिए । त्यहाँबाट सहभागीहरू महाधिवेशन स्थलसम्म हिँडेर आएका थिए । उद्घाटनमा सहभागी हुन आएका पूर्वी नवलपरासीका सुन्दर थापा नेताहरूको भाषण सुनेर घर फर्कने क्रममा शौचालयको व्यवस्था नभएकामा गुनासो गर्दै थिए । ‘कार्यक्रम राम्रै भो तर शौचालयको व्यवस्था नभएकाले समस्या भोग्नुपर्‍यो,’ उनले भने ।

समाचार

भीड छिचोल्नै मुस्किल

- रमेशकुमार पौडेल

(चितवन) - रूपन्देही तिलोत्तमा नगरपालिका–११ का रणसिंह थापा १२ कक्षा पढ्ने छोरी अनिशालाई लिएर एमाले महाधिवेशन उद्घाटन समारोहमा केपी शर्मा ओलीको भाषण सुन्न शुक्रबार चितवन आएका थिए । दिउँसो ३ बजेतिर एमाले अध्यक्ष ओलीको मन्तव्य सुरु हुँदा रणसिंह मञ्चभन्दा धेरै पर पुल्चोकमा हतास मनस्थितिमा भेटिए । ‘मञ्च भएको ठाउँमा पुग्न सक्ने छाँट देखिएन । घर फर्कने भनेको पुलमा आम्मा कत्रो जाम हो ? भीडले गर्दा छोरी झन्डै बेहोस भई,’ उनले भने, ‘यो अवस्था देखेपछि त छोरी भाषण सुन्न कहीं कतै नजाने हुन्छे कि क्या हो !’ उनीहरू चढेर आएको गाडी पुलपारि थियो । उनले आफ्नो वडाबाट मात्रै आठवटा बस र २ वटा बलेरो जिपमा मानिस आएको सुनाए ।
पुलको भीड छिचोलेर गैंडाकोटबाट नारायणगढ छिर्न नवलपुर कावासोतीकी वृन्दा गैरेलाई झन्डै डेढ घण्टा लाग्यो । गैरेले पुलको जाम पार गरे पनि नदी किनारको भीड नाघेर मञ्च वरपर पुग्न सकिनन् । त्यसैले उनी पुलनजिक नै बसेर माइकमा सुन्ने प्रयास गरिन् । तर माइकले राम्रोसँग काम नगर्दा को बोलेको हो, के भनेको हो भन्ने मेसो पाइनन् । ‘पार्टीको महाधिवेशन हो । नेताको भाषण सुन्न पाएको भए राम्रै हुन्थ्यो । तर पाइएन । भीड धेरै हुनाले सजिलै ठाउँमा पुग्न सकिएन । पार्टीलाई विश्वास गरेर नै मान्छे आएका रहेछन्, त्यसैले यस्तो भीड भयो,’ गैरेले भनिन् । नवलपुर हुप्सीकोटका मनिका आले, हिरा कानु, गंगीसरा राना सूर्य चिह्न अंकित सेतो झन्डा समाएर बसेका थिए । उद्घाटन कार्यक्रममा आए पनि फर्कन ढिलो हुने भन्दै उनीहरू नेताको भाषण सुन्न बसेनन् । ‘पार्टी फुट्यो भन्थे, फुटेको पार्टीमा पनि यो विधि मान्छे भेटिए । यो राम्रो कुरा हो,’ हुप्सीकोटकै मीनबहादुर सिर्पालीले भने ।
मध्याह्न १२ बजे सुरु गर्ने भनिएको उद्घाटन कार्यक्रममा अध्यक्ष ओली सवा १ बजे बल्ल मञ्चमा उक्लेका थिए । त्यसको तीन घण्टापछि सवा ४ बजे कार्यक्रम समापन भएको थियो । तर त्योभन्दा पहिल्यै रूपन्देही सियारी–४ छपियाका रामकुमार यादव घर फर्कन लागेका थिए । श्रीमती रेखा यादव पनि सँगै थिइन् । ‘हाम्रो बुबा राजनीति गर्नुहुन्छ । म त्यस्तो राजनीति गर्दिनँ तर पार्टीको कार्यक्रममा जाने गर्छु । यसअघि बुटवलमा भएको आठौं महाधिवेशनमा पनि गएको थिएँ । त्योभन्दा यहाँको भीड धेरै ठूलो लाग्यो,’ ४० वर्षीय यादवले भने । उनीसँग कुरा हुँदै गर्दा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्दै थिए । तर नदी किनारको पुछारमा बसेका रामकुमारले कसले बोलेको हो, मेसो पाउन सकेनन् । मञ्चभन्दा परपर राखिएका माइकहरूले राम्रोसँग काम नगर्दा बजारतिर भाषण सुन्न सकिएको थिएन । घर फर्कन समय घर्कंदै गएको थियो, त्यसमाथि पुलमा ठूलो जाम थियो । पश्चिम नेपाल लाग्नेहरू चिन्तामा थिए । प्रायःजसो रातारात गाडी चढेर गैंडाकोटसम्म आएका थिए । त्यसपछि पैदलै पुल तरेर उद्घाटन स्थल पुगेका थिए । बिहान खाली देखिएको पुल पछि भरिभराउ भएर मान्छे मात्रै हिँड्न पनि सकस भएको थियो ।
पुल पार हुन लागेजस्तै अप्ठ्यारो नारायणी किनारको पुछारबाट मञ्च भएको सिरानसम्म पुग्न थियो । स्नातक पढ्दै गरेका पुष्पा पाण्डे, प्रीति सापकोटा र चन्दा गौतम शुद्धोधन गाउँपालिका–५ मानपकडीबाट महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका थिए । उनीहरू एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध पनि छन् । ‘हामी अध्यक्ष केपी ओलीलाई प्रत्यक्ष देख्न पाइन्छ भनेर आएको हो । बल्लबल्ल मञ्च नजिक पुगेर उहाँलाई हेर्‍यौं । भाषण सुन्न त मन थियो तर फर्कन बेर हुने भएका हिँड्न लागेको,’ पुष्पाले भनिन् ।
चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारी मध्याह्नपछि सडकमा ठूलो भीड बढेको बताउँछन् । कार्यक्रम सकिएर फिर्ता हुन थाल्दा राजमार्गमा जताततै लामो जाम भएको उनले बताए । दिउँसो ३ बजे छिचोल्नै गाह्रो हुने गरेर नारायणीको पुलको मुखमा ठूलो जाम थियो । पुलभरि भीड थियो । नारायणगढतर्फ तीनवटा र पुलको मध्यभागमा तीन एम्बुलेन्स पार हुन नसकेर साइरन बजाउँदै बसेका थिए । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार दिउँसो पत्रकार सम्मेलनमा उद्घाटनको दिन नारायणी किनारलाई ‘मानव समुद्र’ बनाउने बताएका थिए । कार्यक्रममा पाँच लाख जना जुटाउने एमालेको दाबी थियो । सरकारी अधिकारीहरूले कति संख्यामा मान्छे आए आकलन गर्न भ्याएका छैनन् । नारायणी किनार र बजारभर देखिएको भीडले जमघट ठूलै भएको देखाउँथ्यो ।
नारायणी किनारमा बिहीबार मध्यरातै जमघट सुरु भएको थियो । टाढाबाट आएका मानिस गैंडाकोटतर्फ बगरमा बसभित्रै सुतेका थिए । उनीहरूको थकान कार्यक्रम स्थलमा पनि देखिन्थ्यो । कपिलवस्तु मायादेवी–४ गुन्डीबाट महिला र पुरुष गरेर चार सय जना आएको लाला लोधले बताए ।

समाचार

‘गठबन्धनमा छलफल गरेर निकास दिन्छौं’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनको टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै निकास दिने आश्वासन दिएका छन् । छलफलका लागि शुक्रबार बालुवाटार पुगेको बारको टोलीसँग प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलसँग परामर्श गरेर निकास दिने बताएका हुन् ।
भेटमा बारले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरा किन पदमुक्त हुनुपर्छ भन्नेबारे १७ बुँदे कारणसहितको ज्ञापनपत्र दिएको थियो । ‘हामीले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि अग्रसरता लिन आग्रह गर्‍यौं, उहाँले न्यायालयको विवादबारे गठबन्धनको ध्यानाकर्षण भएको उल्लेख गर्दै छलफलपछि निकास दिन्छौं भन्नुभयो,’ भेटमा सहभागी सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘जबराले नै राजीनामा दिएर निकास निस्कियोस् भन्नेमा उहाँ स्पष्ट हुनुहुँदो रहेछ । राजीनामा आएन भने के गर्ने भन्नेबारे चाहिँ गठबन्धनले छलफलपछि मात्र धारणा बनाउने बुझिन्छ ।’
भेटमा पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानन्यायाधीश जबरा र उनको परिवारको सम्पत्ति छानबिन गर्न आग्रह गरेका थिए । ‘तपाईं अनौपचारिक माध्यमबाट भए पनि उनको सम्पत्तिबारे राज्यका निकायसँग बुझेर त हेर्नुहोस्, त्यसले तपाईंलाई राजीनामा माग गर्ने आधार दिन्छ,’ ढुंगानाको भनाइ उद्धृत गर्दै एक वरिष्ठ अधिवक्ताले भने, ‘उनका श्रीमती, छोरा, छोरी–ज्वाइँ र भाइका नाममा रहेको सम्पत्ति छानबिन सुरु गर्नुहोस् । त्यसले समग्र न्यायालय सुधारमा राम्रो सन्देश जान्छ ।’ नेपाल बारका महासचिव लीलामणि पौडेलका अनुसार कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएका थिए ।
प्रधानमन्त्री देउवासँग बार पदाधिकारी र वरिष्ठ अधिवक्ताले जबराको बहिर्गमनको विकल्प नभएको तर्क राखेका थिए । ‘जबराको बहिर्गमन नभई बारको आन्दोलन रोकिँदैन, हाम्रो बटमलाइन नै उनको बहिर्गमन हो भन्यौं,’ वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले भने, ‘प्रधानमन्त्रीले निकासका लागि पहल गर्ने बताउनुभयो । उहाँले दुई/तीन दिनमा समाचार अपेक्षा गर्नुहोस् भन्नुभयो ।’
प्रधानमन्त्री देउवाले बार टोलीलाई ‘प्रधानन्यायाधीश चार/पाँच दिनदेखि सर्वोच्च अदालत जानुभएको रहेनछ नि’ भनेर पनि सोधेको बताए । प्रधानन्यायाधीश जबराले गत कात्तिक २९ देखि आफ्ना लागि इजलास तोकेका छैनन् । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्य, बारका अन्य पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, सतीशकृष्ण खरेललगायत बालुवाटार गएका थिए ।
प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेको भन्दै सर्वोच्च अदालतका सबै १८ न्यायाधीश एक महिनादेखि इजलास गएका छैनन् भने बारमा आबद्ध कानुन व्यवसायी आन्दोलनमा छन् ।

Page 4
वाग्मती प्रदेश

गाउँपालिका केन्द्रमै खानेपानी हाहाकार

- राजकुमार कार्की

(हरिहरपुरगढी, सिन्धुली) - हरेक दिन झिसमिसेमै गाग्री र बोतल च्यापेर हिँडेपछि पानी लिएर फर्कंदा बिहान बित्छ । घरदेखि झन्डै आधा घण्टाको पैदल दूरीमा रहे पनि कुवामा पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । त्यसमाथि परिवारका सदस्य र गाईवस्तुलाई समेत पिउने तथा अन्य कामका लागि पनि पानीको भर त्यही कुवा मात्रै भएकाले हरिहरपुरगढी गाउँपालिका–२ चैनपुरकी सरला विकलाई पानीको जुगाड गर्न सकस पर्छ । चैनपुर हरिहरपुरगढीको केन्द्र रहेको झनझनेसँगैको गाउँ हो । यहाँका सबैजसो स्थानीयको दिनको सुरुवात सरलाको जस्तै पानीको खोजीमा निस्किएसँगै सुरु हुन्छ ।
पानी भर्नको हैरानीबाट दिक्क भएर गत जेठमा व्यक्तिगत लगानीमा खनेको इनार पनि अहिले सुकेको उनले सुनाइन् । ‘वर्षा हुन्जेल इनारमा पानी थियो,’ उनले भनिन्, ‘७ महिनाअघि घरनजिकै इनार खनेका थियौं । पानी हल्का निस्किएपछि अब भयो भनेर मिस्त्रीले छाडे । अहिले इनार सुकेको छ ।’ अब फेरि वर्षायाम सुरु भएपछि इनारमा पानी आऊला भन्ने आसमा बस्नुको विकल्प नभएको उनले दुखेसो पोखिन् ।
मदन भण्डारी राजमार्गको नालासँग जोडिएको एउटा जरुवा पानीको कुवा छ । गाउँभरका झन्डै २ सय परिवारले पिउने पानीका लागि यही एउटा कुवा मात्रै छ । झिसमिसेदेखि दिनभर यहाँ पानी भर्न बोतल, गाग्रीलगायत भाँडाकुँडा बोकेका बालबालिका र पाका व्यक्ति पनि लाइनमा लागेको देख्न सकिन्छ । चैनपुरमा विगत २ वर्षदेखि होटल व्यवसाय गर्दै आएका लालबहादुर भोलन झनझने, चैनपुर, श्रीपुर र चौरीचोकमा पिउने पानीको समस्या बढ्दै गएको गुनासो गर्छन् । ‘हामीजस्ता होटल व्यवसाय गर्नेलाई झनै चर्को असर परेको छ,’ उनले थपे, ‘इनार सुक्दै गएको छ । पानीको हाहाकारजस्तै भएको छ ।’
झनझने गाउँपालिका केन्द्र तोकिएपछि बस्ती विस्तार थप तीव्र बनेको छ । पानीका स्रोत मासिँदै र सुक्दै जानु तथा उपभोक्ता बढ्नुले पिउने पानीको समस्या जटिल बन्दै गएको छ । केहीले व्यक्तिगत लगानीमा इनार बनाए पनि बाह्रैमास आउँदैन । इनारको पानी विशेषगरी नुहाउन, लुगा धुन र गाईवस्तुका लागि उपभोग हुन्छ । पिउनका लागि स्वच्छ नहुने स्थानीय बताउँछन् । ‘माघ, फागुन र चैतमा सबैजसोको इनार सुक्ने गरेको छ,’ झनझनेका सुवर्ण राईले सुनाए, ‘कहिलेकाहीं त खडेरी परेर जेठसम्मै दुःख पाइन्छ । धारामा पानी नआउन्जेल समस्या नहट्ने भयो ।
झनझने, चैनपुर, श्रीपुर र चौरीचोकको पानीको समस्या समाधान गर्न श्रीपुर–चैनपुर लिफ्ट खानेपानी योजना निर्माण थालिएको छ । यसबाट ५ सय उपभोक्ता लाभान्वित हुनेछन् । स्थानीयहरू यो योजना सम्पन्न भएपछि गाउँमा खानेपानी समस्या समाधान हुने आसमा छन् । गाउँपालिका र नेवाः संस्थाको साझेदारीमा १ करोड ७ लाख रुपैयाँको लागतमा पछिल्लो १ वर्षदखि खानेपानी योजना निर्माण भइरहेको गाउँपालिका अध्यक्ष कार्साङ लामाले जानकारी दिए ।

वाग्मती प्रदेश

दुर्गम गाउँमा खानेपानी

- कान्तिपुर संवाददाता


हेटौंडा (कास)– मकवानपुरगढी गाउँपालिका–३ का बासिन्दाले अब शुद्ध खानेपानीको अभाव भोग्नु नपर्ने भएको छ । जिसस मकवानपुरको ६० लाख र मकवानपुरगढी गाउँपालिकाको ४६ लाख रुपैयाँ लगानीमा टावरडाँडामा निर्मित खानेपानी आयोजना सोमबारदेखि सञ्चालनमा आएसँगै स्थानीयलाई सहज भएको हो । यसअघि दैनिक २ घण्टाको पैदल दूरीमा रहेको तिरतिरे धाराबाट पानी बोकेर ल्याउनुपर्थ्यो । आयोजनाको जिसस प्रमुख रघुनाथ खुलालले सोमबार उद्घाटन गरे । ‘अब गाग्री बोकेर पानी लिन तिरतिरे धारा धाउनुपरेन, पानी लिन जाँदा बिहान बित्थ्यो अब सजिलो हुने भयो,’ स्थानीय मन्जली थापाले खुसी व्यक्त गरिन् । १७ सय मिटर टाढाबाट टावरडाँडामा निर्मित २ लाख ४० हजार लिटर अट्ने ट्यांकीमा पानी संकलन गरी २१६ परिवारलाई स्वच्छ खानेपानी वितरण गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले बताए । सामारी खोलाको किनारमा डिप बोरिङ गरी लिफ्टिङ प्रविधिमार्फत पानी ट्यांकीमा खसालिएको छ ।

वाग्मती प्रदेश

मामाको हत्या आरोपी भान्जा समातिए

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मामाको हत्या आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे–४ घर भई चन्द्रागिरि–५ किसिपिडी बस्ने १९ वर्षीय मिलन लुंगेनी मगर छन् । महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार बुधबार राति मादक पदार्थ सेवन गर्ने क्रममा झगडा हुँदा मिलनले मामा ३९ वर्षीय राजु पुलामी मगरलाई कुटपिट गरी भागेका थिए । घाइते राजुको बिहीबार उपचारकै क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको थियो । मिलनलाई महाशाखाको टोलीले थाक्रेबाट पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोट पठाएको जनाएको छ । दुवै जना सँगै मजदुरी गर्थे ।

वाग्मती प्रदेश

रक्तचन्दनको ३३ लिटर तेलसहित १० पक्राउ

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– रक्तचन्दनको ३३ लिटर तेलसहित प्रहरीले काठमाडौं–८ तिलगंगाबाट १० जनालाई पक्राउ गरेको छ । सिन्धुली हरिहरपुर–४ घर भई काठमाडौं बानियाटार बस्ने हेमकुमार श्रेष्ठ, मकवानपुर गढी–१ घर भई ललितपुर सानुगाउँ बस्ने मंगल सिंह लो, काठमाडौं टोखा–४ का विक्रम श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–४ घर भई भक्तपुर दुवाकोट बस्ने कार्साङ लामा, खोटाङ हलेसी–६ घर भई महाराजगन्ज बस्ने २३ वर्षीय घनश्याम आले मगर पक्राउ परेका हुन् । यसैगरी, तिलगंगाका मदन पोडे, खोटाङ हलेसी–९ घर भई चाबहिल बस्ने जीवन थापा, तनहुँ भानु–६ घर भई सामाखुसी बस्ने सुदीप थडराई, काठमाडौं–१३ छाउनीका अनिल चरण श्रेष्ठ र अनुपकुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए । कोइरालाका अनुसार रक्तचन्दनको तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले अवैध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले शुक्रबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

Page 5
अर्थ वाणिज्य

विदेशी मुद्रा सञ्चिति बढाउने नीति अघि सार्दै राष्ट्र बैंक

- कमल नेपाल

(काठमाडौं) - विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बढाउने उपायस्वरूप नयाँ व्यवस्था लागू गर्ने र केही पुराना व्यवस्थामा सरलीकरणको नीति अघि सारेको छ । त्यसका लागि आयात नियन्त्रण गर्न केही बाध्यकारी व्यवस्था गरिदिएको छ । वाणिज्य बैंकको ग्यारेन्टीमा कुनै पनि व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन सक्ने व्यवस्था अघि सारेको छ ।
विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायतका विद्यमान व्यवस्थामा पुनरावलोकनसमेत गरिदिने राष्ट बैंकले जनाएको छ । साथै गैरआवासीय नेपाली (एनआरएन) र उनीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले उल्लिखित व्यवस्था अघि सारेको हो ।
उच्च आयात, रेमिट्यान्स आप्रवाहमा कमी आएसँगै विदेशी विनिमय सञ्चिति निरन्तर घटिरहेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकामा असोज मसान्तसम्ममा ५.७ प्रतिशत कमी आई १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । यो रकमले करिब ८ महिनालाई वस्तु तथा सेवाको आयात गर्न पुग्छ । जसलाई राष्ट्र बैंकका अधिकारीहरूले दबाब महसुस गरिरहेकाले सञ्चिति बढाउने गरी नीति अघि सारेका हुन् ।
यसमध्ये पनि मुख्य ध्यान आयात नियन्त्रणमै देखिन्छ । अब प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिने भएको छ । हालसम्म बैंकहरूले कतिपयलाई बिनामार्जिन एलसी खोलिदिने गरेका थिए । नगद मार्जिन कति राख्नुपर्ने हो भन्ने सम्बन्धमा पछि निर्देशनमै स्पष्ट हुने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
मौद्रिक नीतिको समीक्षामार्फत जरुरत नभएका वस्तुको आयातमा नियन्त्रणको प्रयास गरिएको उनले प्रस्ट्याए । ‘अत्यावश्यक वस्तु आयातका लागि कुनै बाधा छैन । तर मुलुकका लागि नभए पनि हुने वस्तुको आयात नियन्त्रण गर्न खोजिएको हो,’ ढकालले भने । आयात नियन्त्रणका लागि राष्ट्र बैंकले अपनाएको अर्को वित्तीय उपाय हो– डकुमेन्ट अग्नेस्ट पेमेन्ट (डीपी) र डकुमेन्ट अग्नेस्ट एसेप्टेन्स (डीए) को विद्यमान सीमा पुनरावलोकन गर्ने । हालको १ लाख सीमाले आयात बढाएकाले यो बुँदामार्फत घटाउने तयारी राष्ट्र बैंकको छ । यद्यपि सीमा कति हुने भन्ने विषयमा निर्देशनमै उल्लेख गरिनेछ । ‘मौद्रिक समीक्षा कार्यान्वयनका लागि केही दिनमा निर्देशन आउँछ, त्यसले धेरै कुरा स्पष्ट पार्छ,’ ढकालले भने ।
राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत चाँदी आयातमा कडाइ गर्न खोजेको छ । मौद्रिक समीक्षाको बुँदामा भनिएको छ, ‘ड्राफ्ट, टीटीका माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्न सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’ हाल एक पटक (पर कन्साइनमेन्ट) मा ३५ हजार डलरसम्म चाँदी आयातको सीमा तोकिएको छ । अबका दिनमा यसलाई घटाउने राष्ट्र बैंकले स्पष्ट संकेत दिएको छ । ‘मुलुकलाई आवश्यकभन्दा पनि कैयौं गुणा बढी चाँदी अहिले आयात भइरहेको छ, त्यो कहाँ गएको छ भन्ने पनि थाहा छैन, त्यसकारण चाँदी आयातमै नियन्त्रण गर्न जरुरत छ,’ ढकालले भने ।
चालु आर्थिक वर्षको पछिल्लो तीन महिनालाई हेर्दा धेरै आयातित हुने वस्तुमा चाँदी एघारौं नम्बरमा छ । साउनदेखि असोज मसान्तसम्म मुलुकमा ९ अर्ब ९७ करोड रुपैयाँको चाँदी आयात भएको तथ्यांक छ । वस्तुगत रूपमा आयातको कडाइ गर्ने निर्णय सरकारले नै गर्नुपर्छ । कुन–कुन वस्तुको आयात गर्ने वा परिमाण कति तोक्ने निर्णय सरकारले नै गर्ने भएकाले पहिलो मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले वित्तीय रूपमा आयात नियन्त्रणका लागि सक्दो प्रयास गर्न खोजेको छ ।
मौद्रिक समीक्षाले सेयर लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले दिन पाउने ४–१२ करोडको कर्जा सीमालाई यथावत् राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयरमा लगानी गर्न एउटा बैंकबाट ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा पाउने व्यवस्था गरिएको थियो । यो व्यवस्था परिवर्तन गर्न राष्ट्र बैंकलाई लगानीकर्ता र अर्थमन्त्री जनार्दन शर्माको समेत दबाब परेको थियो । अन्ततः यो व्यवस्थामा राष्ट्र बैंक अडिग भएको छ । ‘अहिले आवश्यक नभएका विषयलाई परिमार्जन गर्नुपर्ने जरुरत थिएन,’ ढकालले भने ।
मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) असार मसान्तभित्र सीमामा राख्न बैंकहरूसँग प्रतिबद्धता खोजेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सीडी रेसियोलाई आगामी असार मसान्तभित्र ९० प्रतिशतको सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकसमक्ष बुझाउनुपर्ने भएको छ ।
हाल २७ वाणिज्य बैंकको औसत सीडी रेसियो नै ९०.३१ प्रतिशत पुगेको छ । कतिपय बैंकको ९६ प्रतिशतसम्म पुगेको छ । यो सीमालाई आगामी असार मसान्तसम्म ९० भन्दा कममा झार्नुपर्ने बाध्यकारी व्यवस्था छ । असार मसान्तपछि सीडी रेसियोमा प्रतिदिन नियमन गरी सीमाभन्दा माथि पुगेकालाई हर्जाना लगाउने व्यवस्था गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।
पछिल्ला महिना विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा मौद्रिक समीक्षाले केही सहजीकरणको प्रयास गरेको छ । यसअनुसार वाणिज्य बैंकको ग्यारेन्टीमा कुनै पनि व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन सक्ने व्यवस्था मिलाइने भएको छ ।
विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायत विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ । त्यस्तै गैरआवासीय नेपाली (एनआरएन) र उनीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने भएको छ ।

अर्थ वाणिज्य

लिखु–४ बाट विद्युत् उत्पादन सुरु

- कान्तिपुर संवाददाता


रामेछाप (कास)– रामेछाप र ओखलढुंगाको सीमा लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ ।
५२.४ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् हालै मात्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा पठाइएको हो । ओखलढुंगाको रगनीस्थित विद्युत् उत्पादन गृहमा आयोजित एक कार्यक्रमबीच बिहीबार सांसद एवं पूर्वगृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ र सांसद यज्ञबहादुर सुनुवारले व्यावसायिक उत्पादनको सुरुवात गरे ।
आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ । बर्खायाममा भने पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाले सन् २०१८ अक्टोबरबाट काम थालेको थियो । तीन वर्षमा पूरा भएको आयोजनाले प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको छ । रामेछापको उमाकुण्ड–७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीच भएर बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालेर २ वटा टर्बाइनबाट विद्युत् उत्पादन गरिएको आयोजनाका सम्पर्क अधिकृत कृष्णदास श्रेष्ठले जानकारी दिए । उत्पादित विद्युत्लाई २ सय २० केभी प्रसारण लाइनमार्फत रामेछापको मन्थली नगरपालिकामा निर्मित न्यु खिम्ती सबस्टेसनमा जोडिएको छ । बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने आयोजनाले हिउँदमा पनि कम्तीमा ३० मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोड्ने श्रेष्ठले बताए ।

अर्थ वाणिज्य

लिमीमा आइतबारबाट खाद्यान्न ढुवानी

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– हुम्लाको नाम्खा गाउँपालिकामा आइतबारदेखि चीनले दिएको राहतको खाद्यान्न ढुवानी हुने भएको छ । रक्षा मन्त्रालयले आइतबार हेलिकोप्टर पठाउने प्रतिबद्धता जनाएसँगै ढुवानी हुने सम्भावना बढेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । ‘सेनाको हेलिकोप्टर आइतबार सदरमुकाम सिमकोट आइपुग्छ,’ उनले भने, ‘त्यसपछि हिल्साबाट सीधै लिमीमा ढुवानी गर्छौं ।’
सीमानाका हिल्सामा चीनले राहतमा पठाएको ५ क्विन्टल चामल र ४६१.५ क्विन्टल पिठो छ । यही खाद्यान्न पनि अहिलेसम्म ढुवानी हुन सकेको थिएन । हिउँका कारण ढुवानी हुन नसक्दा गाउँपालिकामा खाद्यान्न संकट परिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि समयमै ढुवानी नगर्दा त्यहाँका जनता थप पीडित बनेका छन् । हुम्लावासीहरू हिउँको कष्टपूर्ण यात्रा गरी सरदमुकाम सिमकोट हुँदै सिंहदरबारसमेत आइपुगेका छन् । सोमबार काठमाडौं आइपुगेका नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले मंगलबार गृहसचिव टेकनारायण पाण्डेसँग भेटेर गुनासो गरेका थिए । पाण्डेले बुधबारदेखि ढुवानी गरिदिने आश्वासन दिएका थिए । तर हेलिकोप्टर र हिल्सामा खाद्यान्न लोड गर्ने कामदार नभएको भन्दै बुधबार ढुवानी भएन ।
चामल नपाएपछि तामाङ काठमाडौंमै छन् । हेलिकोप्टर उडेपछि मात्रै गाउँ फर्किने उनको भनाइ छ । ‘आइतबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलसँग भेट भयो । उहाँले आइतबारदेखि ढुवानी हुने बताउनुभएको छ,’ अध्यक्ष तामाङले भने, ‘अब काठमाडौंबाट हेलिकोप्टर उडेपछि मात्रै गाउँ फर्किन्छु ।’ ढुवानीमा कमिसनको खेल हुँदा हुम्लाका अधिकांश क्षेत्रमा चामल अभाव भएको छ । ३० जनाको टोली चार दिनसम्म कठ्यांग्रिँदो हिउँ छिचोल्दै सिमकोटसम्म आइपुगेको थियो । सिमकोटबाट भने वडाध्यक्ष तामाङ र सांसद छक्कबहादुर लामा काठमाडौं आएका हुन् । मंगलबार दिउँसो १ बजे सिंहदरबार पुगेका उनीहरूले अर्थमन्त्री र गृहमन्त्रीलाई भेट्न खोजेका थिए । मन्त्रीहरूसँग भेट नभएपछि गृहसचिव पाण्डेलाई भेटे । नाम्खाको लिमीमा करिब ११ सय जनसंख्या छ । वडा नम्बर ६ मा साढे ४ सयको बसोबास छ । लोड–अनलोड गर्ने मान्छे नै नभएपछि हिल्साबाट ढुवानी गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । आइतबारपछि भने लिमीका जनताले खाद्यान्न पाउने उनको दाबी छ । ‘आइतबार नै हिल्साबाट लोड गरेर लिमी पुर्‍याउँछौं । लिमीमा पुर्‍याएपछि खाद्यान्न वितरण भने वडाध्यक्षकै रोहबरमा हुन्छ, वितरणका लागि वडाध्यक्ष नै चाहिन्छ,’ उनले भने ।
नाम्खाका लागि यस वर्ष एक हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर हालसम्म ढुवानी भएको छैन । खाद्य कम्पनीले कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबुल्नेलाई स्वीकृति दिन खोज्दा ठेक्का नै विवादमा परेको छ । खाद्य कम्पनीले हवाईमार्गबाट हुम्लामा १० हजार क्विन्टल चामल पठाउन बोलपत्र आह्वान गरेपछि चार कम्पनीेले आवेदन दिए ।

अर्थ वाणिज्य

एकीकृत व्यापार लजिस्टिक्स पूर्वाधार बनाइँदै

- नुमा थाम्सुहाङ

(काठमाडौं) - एकीकृत व्यापार लजिस्टिक्सको पूर्वाधार विकास गर्न ‘लजिस्टिक्स विकास नीति’ को मस्यौदा तयार भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त नीतिको खाका तयार पारेको हो । देशको तथ्यांकीय विश्लेषणका आधारमा लजिस्टिक्स पूर्वाधार बनाइने मस्यौदामा उल्लेख छ ।
‘लजिस्टिक्सको स्थिति अनुकूलता, दिगोपना र उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी नीतिगत सुधारका क्षेत्र र पूर्वाधारको आवश्यकता पहिचान गरिनेछ,’ मस्यौदामा भनिएको छ, ‘पूर्वाधार विकासका लागि निर्देशिका तयार गर्न सम्बन्धित मन्त्रालयको नेतृत्वमा समन्वय संयन्त्र स्थापना गरिनेछ ।’ लजिस्टिक्स सेवामा प्रयोग हुने साधन, उपकरण र पूर्वाधारको न्यूनतम प्राविधिक मापदण्ड निर्धारणसमेत गरिनेछ । वस्तुको ढुवानी, भण्डारन र वितरणसम्बन्धीको कामलाई लजिस्टिक्सले समेटेको मस्यौदामा बताइएको छ । नेपालले यातायातका वैकल्पिक माध्यम (रेलमार्ग र जलमार्ग) को विकास गर्दै छिमेकी मुलुकको यातायात सञ्जालसँग जोड्न प्रारम्भिक कदम चालेको छ । नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै व्यापारको कारोबार
लागत कम गर्ने पन्ध्रौं योजनाको उद्देश्यसमेत छ । ‘यसका लागि नेपाललाई व्यापारिक र आर्थिक करिडोरका रूपमा विकास गर्न चीन र भारतलाई जोड्ने गरी लजिस्टिक्सको दक्षता बढाउनुपर्नेछ,’ मस्यौदामा भनिएको छ ।
व्यापार तथा यातायात पूर्वाधारमा निजी क्षेत्रको सहभागिताका लागि नियामक अवरोध र लगानीको वातावरण अध्ययन गरिने बताइएको छ । ‘निजी क्षेत्रको लगानी सहज बनाउन सहुलियत सर्तको सम्झौता नमुना तयार गरिनेछ,’ मस्यौदामा भनिएको छ, ‘पूर्वाधार विकासका लागि आवश्यक वित्तीय स्रोत पूरा गर्न निजी क्षेत्रले सहयोग गर्न सक्छन् । साथै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न पूर्वाधार विकासको जोखिम हेरेर नयाँ संयन्त्रको विकास गरिनेछ ।’ राष्ट्रियस्तरको योजनालाई प्रदेश र स्थानीय तहका कार्ययोजनामा रूपान्तरण र आवश्यक पूर्वाधारको आपूर्ति सुनिश्चित गर्न उद्योग मन्त्रलायले सहजकर्ताको भूमिका खेल्नेछ ।
आपूर्ति शृंखलाको व्यवस्थापनमा डिजिटल प्रविधिको प्रवर्द्धन गर्नु उक्त नीतिको रणनीति छ । ‘आपूर्ति शृंखला प्रणालीका लागि विद्युतीय व्यापार र विद्युतीय बजार–व्यवस्था समावेश भएको नयाँ प्रविधि उपयोग गर्न वातावरण तयार पारिनेछ,’ मस्यौदामा उल्लेख छ, ‘यसका लागि लजिस्टिक्स सेवा प्रदायक र सेवाग्राहीको अन्तर्क्रिया, सम्झौता र कारोबारका लागि एउटा राष्ट्रिय विद्युतीय बजारको सिर्जना गरिनेछ ।’ उसले सीमा नाकामा गरिने जाँचपास र लजिस्टिक सेवाको बजार विकास बढाउन सहयोग गर्नेछ । लजिस्टिक्स सेवा प्रदायक र उपयोगकर्ताका रूपमा लघु, साना र मझौला उद्योगको क्षमता विकास गरिनेछ ।
‘कानुनी र नियामक संरचनालाई व्यवस्थित गर्न कार्यान्वयन संयन्त्र स्थापना गरिनेछ,’ मस्यौदामा भनिएको छ, ‘आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक कुशल व्यापार लजिस्टिक्सका लागि कानुन, नियम तथा निर्देशिका तर्जुमा वा संशोधन गरिनेछ ।’ सीमापार र पारवहनसम्बन्धी लजिस्टिक्सलाई अवरोधरहित बनाउन नेपालले संयुक्त राष्ट्रसंघको व्यापारसम्बन्धी सन्धि तथा सम्झौतामा सहभागितासमेत जनाउनेछ ।
प्रविधिको प्रयोगबाट लजिस्टिक्सको तथ्यांक तथा सूचना प्रदान गर्न संस्थागत संयन्त्रको स्थापना गरिनेछ । राष्ट्रिय रूपमा यातायात सञ्जाल विकासका लागि बहु–विधिक, अन्तर–विधिक र आन्तरिक तथा बाह्य व्यापार ढुवानी गरिनेछ । ‘भन्सार बिन्दु र विमान स्थलमा व्यापार तथा पारवहनमा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधारसम्बन्धी अवरोध पहिचान गर्दा साना उद्योगको आवश्यकतालाई ध्यान दिई सम्बोधनसमेत गरिनेछ,’ मस्यौदामा भनिएको छ, ‘हाल योजनारत इन्ल्यान्ड कन्टेनर डिपो (आईसीडी), एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र अन्य भन्सार पूर्वाधारको क्षमताको अध्ययन गरिनेछ ।’ व्यापारका लागि प्रमुख र सम्भावित नेपाल–भारत सीमा बिन्दुमा रहेका तथा निर्माण गरिने आईसीडी वा आईसीपी भारतको रेलवेसँग जोडिने गरी बनाइनेछ । भारतीय समुद्री बन्दरगाहमा कोइला, बक्साइटजस्ता ठूलो आयतन भएका र धूलोयुक्त वस्तुको भण्डारण गर्न पट्टामा जग्गा लिन सम्भाव्यताको अध्ययन गरिनेछ ।
मस्यौदाअनुसार यातायात तथा गैरयातायात क्षेत्रमा लजिस्टिक्स सेवाका श्रमिकको कार्य अवस्थासम्बन्धी न्यूनतम मापदण्डको नियम तथा निर्देशिका तयार गरी लागू गर्ने उक्त नीतिको मस्यौदाले व्यवस्था गरेको छ । नेपाली ट्रक (कन्टेनराइज्डसहित) तथा ट्रेलर सञ्चालकले विदेशी सेवा प्रदायकसित प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइनेछ । विद्यमान व्यापार पोर्टललाई लजिस्टिक्स सूचना पोर्टल बनाउन सम्भाव्यता अध्ययन गरिनेछ । महिला उद्यमीसमेत संलग्न भएका व्यवसाय तथा उद्योगलाई लजिस्टिक्सको सेवाग्राहीका रूपमा सक्षम बनाउन क्षमता विकासमा सहयोग गरिनेछ ।
व्यापार लजिस्टिक्स विकास नीतिको अनुगमन र कार्यान्वयन गर्न तीन तहको संस्थागत व्यवस्था नीतिले गरेको छ । जहाँ लजिस्टिक्स विकास परिषद्, समन्वय समिति र कार्यान्वयन समिति रहनेछ । परिषद्को अध्यक्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, उपाध्यक्षमा नेपाल सरकारको मुख्य सचिवलगायत सरकारका उच्च पदाधिकारीहरू सदस्य रहनेछन् । समन्वय समितिको अध्यक्षमा नेपाल सरकारकै मुख्य सचिव र सम्बन्धित निकायका पदाधिकारी सदस्यको रूपमा रहने व्यवस्था छ । साथै कार्य समितिको अध्यक्षमा उद्योग मन्त्रालयको सचिव र अन्य पदाधिकारीहरू सदस्यका रूपमा रहनेछन् । यो नीतिको कार्यान्वयनको अनुगमन सम्बन्धित मन्त्रालय तथा विभागले गर्नेछन् । यो नीतिको प्रत्येक पाँच वर्षमा समीक्षा गरिने मस्यौदामा उल्लेख छ ।

Page 6
समाचार

विदेशका लागि हुलाक सेवा महिनौंदेखि ठप्पै

- जनकराज सापकोटा

(काठमाडौं) - गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा भेटिएका मध्यपुर थिमिका राजेन्द्र महर्जन दोधारमा थिए । जापानमा रहेका साथीलाई पार्सल पठाउन आएका उनी गोश्वारा हुलाकको अन्तर्राष्ट्रिय सेवा बन्द रहेको थाहा पाएपछि छक्कै परे । गोश्वारा हुलाकमा आएका हरेक दिन कैयन् सेवाग्राही यसैगरी फर्किन्छन् । किनकि २२ मुलुकका ३९ गन्तव्यमा ईएमएस् अर्थात् द्रुत सेवा दिइरहेको हुलाकको सेवा अहिले चार देशमा मात्रै खुम्चिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई कारण देखाउँदै गोश्वारा हुलाकले गत चैतमा विश्वव्यापी सेवा ठप्प पारेको थियो । असार २३ यता हुलाकले अन्तर्राष्ट्रिय सेवा सुरु गरे पनि यसलाई नेपाल एयरलाइन्सको उडान रहेको भारत, कतार, संयुक्त अरब इमिरेट्स र मलेसियामा मात्रै सीमित राखेको छ । अन्तर्राष्ट्रिय सेवा पुनः सुरु भएको साढे चार महिना भइसक्दा पनि हुलाक सेवा विभागले आफ्नो पुरानो अन्तर्राष्ट्रिय सेवा सुरु गर्न सकेको छैन ।
हुलाकबाट सामान पठाउँदा सस्तो पर्ने भएकाले डिल्लीबजारसम्म धाएका महर्जन निजी कुरियर्समा चर्को शुल्क तिर्नुपर्ने भएकाले दिक्क देखिन्थे । उनले भने, ‘झन् सरकारी भनेर आएको तर सरकारी सेवाको भरै नहुने ।’ कुनै समय अन्तर्राष्ट्रिय सेवा लिनकै निम्ति सेवाग्राहीको भीडभाड हुने गोश्वारा हुलाक हिजोआज भने सुनसान जस्तै छ ।
नेपाल हुलाकका वैदेशिक हुलाक वस्तुको ओसारपसार गर्न विभागले २०७६ साउन १९ मा थाई एयरवेजसँग सम्झौता मिति सकिएपछि नयाँ सम्झौता गरेको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय हवाई डाँक ढुवानीका लागि पटक–पटक अन्तर्राष्ट्रिय ठेक्का प्रक्रियाको सार्वजनिक सूचना प्रकाशित गर्दा कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक संस्था ठेक्का प्रक्रियामा सामेल नभएपछि थाई एयरवेजसँगको सम्झौता नवीकरण गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा मात्रै विभागले थाई एयरलाइन्सलाई डाँक ढुवानीबापत ३ करोड १२ लाख ५५ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको थियो ।
२०७६ चैतबाट थाई एयरवेज आर्थिक संकटमा परेर सेवा बन्द भएपछि त्यसको सोझो असर हुलाक सेवा विभागको अन्तर्राष्ट्रिय सेवामा पनि पर्‍यो । कोभिडको कारण देखाउँदै गोश्वारा हुलाकले महिनौंसम्म अन्तर्राष्ट्रिय सेवा बन्द नै राख्यो । २३ असारमा गोश्वारा हुलाकका शाखा अधिकृत चूडामणि केसीले सूचना जारी गर्दै कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गरी अन्य देशका वायुसेवा कम्पनीसँग समन्वय गरेर हुलाक वस्तु दर्ता प्रक्रिया सुरु गरिने जनाएका थिए । तर यस्तो सूचना निकालेको करिब अढाई महिना भइसक्दा पनि गोश्वारा हुलाकले पूर्णरूपमा अन्तर्राष्ट्रिय सेवा दिन सकेको छैन ।
सामान्य दिनहरूमा वार्षिक १२ हजारसम्म र मासिक औसतमा एक हजारसम्म अन्तर्राष्ट्रिय पार्सल गर्ने गोश्वाराले अन्तर्राष्ट्रिय सेवा खुम्चिएका कारण पछिल्लो अढाई महिनामा जम्मा १ सय २० वटामात्रै अन्तर्राष्ट्रिय पार्सल पठाएको देखिन्छ । कान्तिपुरसँग सम्पर्कमा आएका पार्सल शाखाका कर्मचारी राजेश्वर अर्यालले पठाइएकामध्ये धेरैजसो पार्सल भारतको रहेको बताए । गोश्वारा हुलाकले अहिले भारतको कोलकातासँगै नयाँदिल्ली, मुम्बई र चेन्नईका लागि पनि डाँक सेवा प्रदान गरिरहेको छ ।
हुलाक सेवा विभागमा ६ हजार २ सय ९४ जनाको स्थायी दरबन्दी छ । अन्तर्राष्ट्रिय डाँक सेवा खुम्चिँदा ठूलो संख्याका कर्मचारीहरू महिनौंदेखि कामविहीन जस्तै बनेका छन् । विभागकी महानिर्देशक इन्दु घिमिरेले पहिलेको जस्तै अन्तर्राष्ट्रिय हुलाक सेवा सुरु गर्न पहल भइरहेको बताइन् । उनले त्यस्तो सेवा कहिलेबाट सुरु हुन्छ भन्नेबारे अनुमानित मिति भने बताउन सकिनन् । उनले भनिन्, ‘अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूसँग सेवा लिनका लागि प्रक्रिया भने सुरु भइसकेको छ ।’ २०७० देखि आन्तरिक रूपमा हवाईमार्फत सामान ओसारपसार गरेर दिइने द्रुत डाँक सेवा भने सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको उनले बताइन् ।
उच्च तहका एक कर्मचारीले अघिल्लो आर्थिक वर्षमा पनि विभागले अन्तर्राष्ट्रिय हवाई डाँक ढुवानीका लागि पटक–पटक ठेक्काको सूचना जारी गर्दा पनि कसैको निवेदन नपरेकाले विगत स्मरण गराउँदै घिमिरेले भनेजस्तो प्रक्रिया थाल्न विभागका निम्ति सजिलो नभएको बताए ।

Page 7
कला र शैली

छ्योइ छाप्ने ब्लक

- सुशीला तामाङ

(काठमाडौं) - बौद्धस्थित एउटा कोठा, जहाँ छ छापा चित्रकलाको स्टुडियो । लिपि र चित्र छाप्न तयारी अवस्थामा रहेका मेसिन तथा रङसँगै काठ, फलाम, ढुंगाका ब्लकहरूमा खेल्दै काम गरिहेका छन् काभ्रे तिमाल मेचेका कविराज लामा । आजभोलि उनको दिनचर्यामा केही फेरबदल छ । कला यात्रा मात्र होइन पुर्खाले जगाएको प्रिन्ट कलाको मूल स्रोतलाई जगेर्ना गर्ने अभिभारा काँधमा आइपरेको छ । पुर्खाले प्रयोग गर्ने शताब्दी पुराना काठका ब्लकहरू साथमा छन् । जुन ब्लकहरूले लामाको आठौंदेखि नवौं पुस्तासम्मको इतिहास बोल्छ ।
मानव समाजको विकासक्रमसँगै अक्षरको उत्पत्तिमा काठका ब्लकहरू नै प्रयोगमा थिए । यसलाई प्रिन्ट माध्यमको सबैभन्दा पुराना विधामध्येको एक ठानिन्छ । प्रिन्ट मेसिनहरूको विकासपूर्व मानिसले काठ, फलाम तथा ढुंगाका ब्लकमा अक्षर तथा आवश्यक वस्तुहरूको दृश्यहरू प्रिन्ट गर्थे ।
कविराजका पुर्खाले आफूले प्रयोग गर्ने
छ्योइहरू (लामाले प्रयोग गर्ने बौद्ध धर्मग्रन्थ) पनि काठका ब्लकहरूमार्फत नै छाप्ने काम गरे । अहिले प्रिन्ट माध्यमका अत्याधुनिक डिजिटल प्रिन्ट मेसिनहरू आएपछि परम्परागत काठे ब्लकहरू ओझेलमा परे । नयाँ पुस्ताका लामाहरूले प्रयोग गर्ने अहिलेका अधिकांश बौद्ध धार्मिक ग्रन्थहरू डिजिटल प्रिन्टबाट निकालिएका छन् । तर, लामा पुर्खाले प्रयोग गर्ने काठका ब्लकहरूलाई प्रयोग गरिरहेका छन् ।
आफ्नो पुर्खाको इतिहास बोकेका काठे ब्लकहरू विश्वका लागि अमूल्य सम्पत्ति रहेको कविराज सुनाउँछन् । उनका अनुसार पुर्खादेखि हालसम्म पनि तामाङ समुदायमा लामा (पुरेत) का रूपमा कर्म गर्दै आएको अवस्था छ । बौद्ध धर्म दर्शनअनुसार लामाले प्रयोग गर्ने छ्योइ (ग्रन्थ) तिनै काठका ब्लकहरूमार्फत प्रिन्ट गरिएको कविराजले बताए । ‘हाम्रो घरमा आखे (बाजे) हरूले
छ्योइहरू प्रिन्ट गर्नुभएको बच्चा बेलामा देखेको थिएँ,’ उनले भने, ‘त्यतिबेला त्यो प्रिन्ट कलाको मूल स्रोत हो भन्ने कसैलाई थाहा थिएन ।’ तिमालस्थित उनको घरमा काठका ब्लकबाट प्रिन्ट गरिएका दुईदेखि तीन शताब्दी पुराना छ्योइहरू संग्रहीत रहेको उनले सुनाए ।
लामा छ्योइमा बुद्ध दर्शनसँग जोडिएका तामाङ समुदायको जन्मदेखि मृत्यु परम्पराका विधि विधानहरू समेटिने कविराजका ठूलोबुबा लामा गुरु ७२ वर्षीय छेडुप लामाको भनाइ छ । उनका अनुसार तामाङ जातिमा जन्म कुण्डली, विवाह, व्रतबन्ध, मृत्यु संस्कार, आत्म तथा विश्व शान्तिका हरेक दर्शनशास्त्र यसमा समेटिएका हुन्छन् ।
‘छ्योइले वर्षभरि तामाङ समुदायले मनाउने पर्व, संस्कार, परम्परा, जातिको उत्पत्ति, सभ्यता तथा इतिहासका कथाहरूसमेत खुलस्त बताउँछ,’ उनले भने । तमाललाई अहिले पनि तामाङ जातिको मूल थलो तथा बौद्ध धर्मगुरु रिम्पोछेले तपस्या गरेको पवित्र भूमिका रूपमा लिइने उनले प्रस्ट्याए ।
बौद्ध धर्म सम्प्रदायमा पद्मसम्भवलाई गुरु रिम्पोछेका रूपमा पुजिन्छ । आठौं शताब्दीमा भारतबाट नेपाल हुँदै तिब्बतमा पुगेर त्यहाँ बौद्ध धर्मको फैलाउने श्रेय उनैलाई जान्छ । आफ्नो पुर्खा पनि रिम्पोछेको समयदेखि नै बौद्ध धर्म, दर्शन तथा शास्त्रको लेखनमा अघि बढेको उनी दाबी गर्छन् । तिमालका अन्तिम तामाङ राजा रिन्जेन दोर्जे आफ्नो पुर्खा रहेको उनले दाबी गरे । उनले थपे, ‘हाम्रा पुर्खाले नै काठमा खोपेर छ्योइहरू छाप्दो रहेछन् । मैले त्यसैबाट छाप्दै आएको छु ।’
कविराजलाई आफ्नो पुर्खाको प्रिन्ट कलाबारे स्नातकोत्तर अध्ययनका क्रममा मात्र ज्ञात भयो । झन्डै एक दशकअघि प्रिन्ट चित्रकला माध्यमको स्नातकोत्तर अध्ययनका लागि उनी जापान पुगेका थिए । उनले भने, ‘जापानमा मलाई गुरुहरूले उड (काठ) प्रिन्ट कलाको विधि तथा प्रक्रिया पढाउँदै जाँदा मेरो दिमागमा मेरो घरमा रहेको उड ब्लकहरू, त्यसबाट छापिएका थुप्रै छ्योइहरूका दृश्यहरू अगाडि झलझली आयो । त्यतिबेला मलाई यो त मेरो पुर्खाको पो काम रहेछ भन्ने बल्ल थाहा भयो ।’ आफ्नै पुर्खाको कलाकारिताका अध्ययनका लागि लाखौं खर्च गरेर बाह्य मुलुकमा जानुको कारण उनले त्यतिबेला नजिकबाट महसुस गरे । जापानमा प्रिन्ट उड आर्ट अध्ययनपछि उनी तिमाल पुगे र आफ्ना पुर्खाका चिनारीहरू खोतल्न थाले । अहिले एक दर्जनभन्दा बढी काठका ब्लकहरू उनले संग्रह गरिसके । प्राचीनकालमा ती ब्लकबाट प्रिन्ट गरिएका छ्योइहरू समेत उनले खोजी गर्दै छन् ।
सानो बेलामा काठका ब्लकहरूसँग नजिक हुने, चित्र तथा प्रिन्टमा उनको खुब लगाब थियो । उनी स्मरण गर्छन्, ‘आखेहरू मलाई यो खाइबा (कलाकार) बन्छ कि क्या हो भन्नुहुन्थ्यो । वास्तवमा मेरो रगतमा पुर्खाको प्रिन्ट कला मिसिएको रहेछ ।’
नेपालमा कला विषयको पाठ्यक्रममा छापा विधालाई समेटिएको धेरै समय भएको छैन । तीन दशकअघि शंकरराज सिंह सुवालले सुरु गरेको प्रिन्ट मेकिङ कला अध्ययनलाई ५० को दशकपछि त्रिभुवन विश्वविद्यालयमा चित्रकार उमाशंकर शाहको पहलमा निरन्तरता दिइएको थियो । कविराज पुर्खाको प्रिन्ट कला संरक्षणमा मात्र नभएर सिर्जना तथा अध्यापनमा समेत अहिले सक्रिय छन् । चीन हुँदै युरोप तथा एसियामा फैलिएको प्रिन्ट कला माध्यमलाई अन्य मुलुकहरूमा विस्तार तथा संरक्षण गर्दर् ैअगाडि बढाए पनि नेपालले भने आफ्नै परम्परागत कला विधालाई बेवास्ता गरेको उनी दुःखेसो गर्छन् । ‘मैले आफ्नो कुरा सिक्न अरूको देशमा जानुपर्‍यो । अहिले पनि मेरा विद्यार्थीहरूलाई प्रिन्ट कलाको विस्तार, संरक्षण तथा ठूला आर्ट ग्यालरीहरू देखाउनुपर्‍यो भने चीन तथा जापान जस्ता मुलुकहरूको प्रिन्टको विकासलाई देखाउनुपर्ने बाध्यता छ । अभ्यासका लागि पनि त्यतिकै समस्या छ ।’
प्रिन्ट कलामा लागेर नै पुर्खाको कलाकारिता इतिहासबारे थाहा पाएकोमा कविराल निकै गर्विलो महसुस गर्छन् । उनी ओझेल परेको कला ब्युँताउन हरदिन लागिपरेका छन् । आफ्नो सन्ततिले पुर्ख्यौली कला र सम्पत्तिलाई संरक्षणमा देखाएको चासोले छेडुपले अचले निकै सन्तुष्टिको सास फेरेका छन् । भन्छन्, ‘मैले धेरै वर्षदेखि जोगाएको यी काठका ब्लकहरू हराएर जाला भन्ने निकै पीर थियो । छोरालाई जिम्मा लगाएँ । बल्ल मलाई आनन्द भएको छ ।’

 

कला र शैली

स्वतन्त्रताको खोजीमा परिबन्द

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सरला गौतमको निबन्धहरूको संकलन ‘पिँजडाको मान्छे’ सार्वजनिक भएको छ । निबन्धहरूले आधुनिक जीवनमा मानिसको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । पुस्तकमा महामारी अघि र पछिको दुई धारमा पितृसत्ता, पर्यावरण, कृषि, समानताका मुद्दाहरूलाई नियाल्ने जमर्को गरिएको गौतमले बताइन् । उनले भनिन्, ‘विराटतम स्वतन्त्रताको खोजीमा
सहर पसेको मान्छे कस्ता अदृश्य पिँजडाहरूको जन्जालमा फँस्दै गएको छ, त्यही प्रक्रियाहरूको चिन्तनको उपज हो यो पुस्तक ।’
पब्लिकेसन्स नेपालयले यस वर्ष प्रकाशित गरेको यो दोस्रो प्राइमरी ई–बुक हो । नेपालयले यसभन्दा पहिले
सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ लाई प्राइमरी ई–बुकका रूपमा प्रकाशित गरेको थियो ।
गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच तथा योग्य डिजिटल फर्म्याटमा काम गरिरहेका पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले बताइन् । आगामी दिनहरूमा ई–बुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई
अझै फराकिलो पार्दै जाने उनको भनाइ छ ।

Page 8
खेलकुद

यू–१९ क्रिकेटका 'दाइ’ र 'अंकल’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - अंकित सुवेदीको यू–१९ क्रिकेटप्रतिको प्रेम र समर्पण निरन्तर छ । उनको कप्तानीमा प्रदेश १ ले काठमाडौं भइरहेको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो विजय हात पार्दै शीर्षस्थानमा छ । राष्ट्रिय क्रिकेटमा गएको दशक कमजोर प्रदर्शन दिइरहेको प्रदेश १ लाई यू–१९ को प्रदर्शनले ठूलो ऊर्जा दिएको छ ।
त्यसै पनि अंकितको यू–१९ यात्रा अहिलेको होइन । नेपाल सन् २०१४ को नोभेम्बर ५ देखि १६ सम्म कुवेतमा हुन लागेको एसीसी यू–१९ प्रिमियरमा खेल्दै थियो । नेपाल क्रिकेट संघ (क्यान) ले २०७१ असोज १२ गते घोषणा गरेको प्रारम्भिक चरणको ३५ खेलाडीमा अंकितको नाम पनि थियो । तत्कालीन नेपाली क्रिकेटको क्षेत्र नम्बर १ बाट अंकितसहित नीरज मुखिया, अविनाश कर्ण र हेमन राई नेपाली यू–१९ टोलीको बन्द प्रशिक्षणमा परेका थिए ।
सोही टोलीमा रहेका अंकितका ब्याच आसिफ शेख, पवन सर्राफ, इर्शाद अहमद, कुशल भुर्तेल, अविनाश बोहरा, दिलीप नाथ, सुशील कँडेल, दीपेश श्रेष्ठ, राजु रिजाल, सुनील धमाल र दीपेन्द्रसिंह ऐरीले राष्ट्रिय टोलीको प्रतिनिधित्व नै गरिसके । पवन, कुशल, अविनाश, दीपेन्द्र अहिले राष्ट्रिय टोलीका प्रमुख खेलाडी हुन् । अंकित अझै त्यहाँसम्म पुग्न सकेनन् । त्यसैले पनि होला उनमा यू–१९ प्रतिको प्रेम निरन्तर छ ।
वाग्मती प्रदेशका सूर्यांशु कोइराला १४ वर्ष र गण्डकी प्रदेशका अर्जुन कुमाल १५ वर्षको उमेरमा अहिले भइरहेको यू–१९ राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । तर, उनीहरूको उमेरले यू–१९ राष्ट्रिय प्रतियोगिता खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान छुँदैन । क्यानलाई यस प्रतियोगिता खेल्न खेलाडीले राहदानी, नागरिकता र सरकारी निकायबाट फोटोसहितको जन्मदर्ता बुझाउनुपर्नेछ । क्यानमा अंकितले बुझाएको पासपोर्टअनुसार उनी सन् २००४ को मार्चका हुन्, त्यसअनुसार उनको अहिलेको उमेर १७ वर्ष हुन्छ । यसै अनुसार उनले ७ वर्षअगाडिको यू–१९ राष्ट्रिय प्रतियोगिता ९–१० वर्षकै उमेरमा खेलेको देखिन्छ ।
उमेर समूहको प्रतियोगितामा केहीलाई छाड्ने हो भने प्रायः खेलाडीको उमेर एकनासको हुन्छ । प्रदेश २ विरुद्ध शुक्रबार प्रदेश १ लाई विजय दिलाउँदा सोनु अन्सारीले १ सय १९ रनको अविजित इनिङ्स खेलेका थिए । मैदानमा उपस्थित रहेका धेरैले उनलाई १९ वर्षमुनिको खेलाडी रहेको मान्न तयार देखिँदैन थिए । उनले यू–१९ राष्ट्रिय प्रतियोगिता खेल्न क्यानमा बुझाएको पासपोर्टअनुसार सोनुको उमेर १४ वर्षको मात्र भयो । जबकि उनी ब्याटिङ गरिरहँदा प्लेयर बक्सबाट सोनुलाई ‘दाइ दाइ’ भनेर बोलाइरहेको आवाज मिडिया बक्समा निरन्तर सुनिएको थियो ।
अघिल्लो दिन प्रदेश २ लाई सुदूरपश्चिम प्रदेशविरुद्ध अविश्वसनीय विजय दिलाएका आदिल अन्सारी सामाजिक सन्जालमा ‘ट्रोल’ भइरहे, कारण उनको उमेरमा शंका थियो । आदिलले ४३ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाएपछि प्रदेश २ ले २ सय ९१ रनको जित लक्ष्य अन्तिम ओभरमा पूरा गरेको थियो । उनको झ्याप्प पालेको दाह्रीका कारण क्रिकेट समर्थकले उमेर ढाँटेको आरोप लगाउँदै सामाजिक सन्जाल तताइरहेका थिए ।
पत्रकार सुबास हुमागाईंले उमेर समूहको प्रकरणमै साढे दुई वर्षअघि फेसबुकमा गरेको पोस्ट उत्खनन् गरेका छन् । जसमा लेखिएको छ, ‘यो खेलाडीहरूको उमेर गन्दा चाहिँ जन्मेको दिनबाट हिसाब हुने हो कि खेल्न सुरु गरेको दिनदेखि ?’
यही कारणले जारी यू–१९ राष्ट्रिय प्रतियोगितालाई ‘अंकल प्रिमियर लिग’ भनेर खिसी गरिरहेको पनि सुनिन्थ्यो । उमेर समूहको प्रतियोगिता खेलाडीहरूले उमेर ढाँटेका कारण सधैं विवादमा हुने गर्छ । स्पर्धा कहिल्यै चोखो भएको छैन । यसपालि त अचाक्ली नै देखिएपछि समर्थकहरू खुला रूपमै बहसमा उत्रिएका छन् । दुई प्रतिस्पर्धी टोलीका खेलाडीमै उमेरमा ठूलो भिन्नता देखिएको छ । बढी उमेर भएका खेलाडीले ब्याटिङ गर्दा प्वाइन्ट र कभरमा मज्जाले छक्का प्रहार गरिरहेका छन् । यो उमेरमा नेपाली खेलाडीबाट यस्ता खाले शटहरू कल्पना गर्न गाह्रो हुन्छ ।
‘मेरो टोलीमा ६–७ जना खेलाडी १५–१६ वर्षका मात्र छन्, पावर प्लेमा दुई खेलाडीमात्र ३० यार्डबाहिर राख्न पाइन्छ, बढी उमेरका खेलाडीले मज्जाले पावर शट हानिरहेका छन् । ती बढी उमेरका खेलाडीले ब्याटिङ गर्दा दुई जनालाई सम्म फाइन लेग र थर्डमा राखौंला । अरूलाई कहाँ लुकाउनु भइरहेको छ,’ प्रतियोगितामा सहभागी टोलीका एक प्रशिक्षकले भने, ‘३० यार्डभित्र कलिला खेलाडीलाई राख्दा उमेर बढी भएका खेलाडीले पावर शट हान्दा ठूलो दुर्घटनाको सम्भावना बढी हुन्छ ।’
जिल्ला, क्षेत्रदेखि क्यानसम्म वास्तविक उमेरका खेलाडीले खेल्न पाए/नपाएको यकिन गर्न चुकेको देखिन्छ । ‘जिल्ला र प्रदेशले आफ्नो टोली राम्रो र बलियो होस् भनेर बढी उमेरका खेलाडीलाई परिचय–पत्र मिलाई उमेर घटाएर खेल्न प्रोत्साहन गरिरहेको पनि पाइएको छ,’ क्यानका एक प्राविधिकले सुनाए । अंकितले सात वर्षअघि खेल्दा बुझाएको परिचय–पत्र राखेको भए अहिले यो स्थिति आउने थिएन ।
अंकितले २०७१ मा राष्ट्रिय प्रतियोगिता खेलेको तथ्यबाट जिल्ला र प्रदेशले चाल नपाउनुका कारण के हुन सक्छ ? वा जिल्ला र प्रदेशले थाहा पाएर पनि आँखा चिम्लिएर बसे । अनि देशको प्रमुख क्रिकेट निकाय क्यान । सात वर्षअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानका लागि बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको राहदानी भएको आधारमा पनि जारी यू–१९ राष्ट्रिय खेल्नुअघि अंकितको उमेर क्यानले पत्ता लगाउन सक्नुपर्थ्यो । अंकित एउटा पात्रमात्र हुन्, क्यानले उमेर समूहको प्रतियोगिता खेल्ने खेलाडीको परिचय–पत्रको डाटा नराख्ने हो भने हरेक पटक यस्ता विवाद निरन्तर आइरहन्छ ।
यू–१९ क्रिकेटमा आएको विवादबारे आफूहरू अवगत रहेको क्यानका कार्यबाहक सचिव प्रशान्त मल्ल जनाउँछन् । ‘उमेरमा ठगेको छ भनेर आधिकारिक रूपमै उजुरीहरू आयो भने हामी निश्चय पनि त्यसलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने, ‘हामीले १६ वर्षमुनिकाको जन्मदर्ता, त्योभन्दा माथिकाको हामीले नागरिकता र राहदानी मागेका छौं । हामीले हेर्ने भनेको सरकारी निकायको कागजात नै हो ।’
१६ वर्ष मा हड्डीको जाँच गरिने भएकाले वैज्ञानिक हिसाबमै उमेर थाहा हुने हुनाले त्यसमा विवाद कम देखिएको दाबी गर्दै मल्लले भने, ‘यू–१९ मा हामीसँग आएको नागरिकता र कागजात हेर्ने हो । त्यसबाहेक हामीले अरू हेरेर कारबाही गर्न गाह्रो हुन्छ । त्यसबाहेक पनि केही गर्न सकिन्छ भनेर योजना चाहिँ बनाइरहेका छौं । प्रतिस्पर्धा गर्न दुवै स्तरको एउटै उमेर भएका खेलाडी हुनुपर्छ, यू–१९ भन्ने अनि त्यसमा १६ वर्षका खेलाडी र २४ वर्षका खेलाडीबीच प्रतिस्पर्धा हुन्छ भने त्यसमा दुर्घटनाको सम्भावना हुन्छ । यसलाई निराकरण गर्न क्यानले एउटा नीति नै बनाउनुपर्ने हुन्छ ।’
उमेर विवादमा राजु रिजाल प्रकरण नेपालका लागि ठूलो शिक्षा बन्नुपर्ने हो । सन् २०१६ को आईसीसी यू–१९ विश्वकपमा भारतीय सञ्चारमाध्यमले नेपालका कप्तान राजु रिजाल यसअघि नै भारतमा रहँदा राजु शर्माको नामले खेलिसकेको हुनाले उनको उमेर १९ वर्षमुनि हुन नसक्ने तथ्य सार्वजनिक गरेको थियो । यो प्रकरणमा नेपालका लागि आईसीसीले नै स्पष्टीकरण दिनुपरेको थियो । सन् २००७ मा बढी उमेरका खेलाडीलाई खेलाएको आरोपमा नेपालसहित सात राष्ट्रलाई काठमाडौंमा भएको एसीसी यू–१५ इलिट कपको समूह चरणसँगै निष्कासन गरिएको थियो ।
सूर्यांशु र अर्जुन मानसिक रूपमै कलिला छन् । यी दुई खेलाडीलाई यस्तो स्थितिमा ३० यार्डभित्र फिल्डिङ गर्दा निकै डर हुन्छ । निकै शक्तिशाली शटहरू देखिएको यू–१९ राष्ट्रिय क्रिकेटमा यस्ता खेलाडीहरू ‘रियाक्सन टाइम’ मा छरिता हुँदैनन् । कलिलो उमेरमा आफूभन्दा निकै अनुभवी र उमेर काटेका खेलाडीको उपस्थितिमा ३० यार्डभित्र फिल्डिङ गर्न बस्दा दुर्घटनाको जोखिम उच्च हुन्छ ।
उमेर सही भएका खेलाडीलाई योभन्दा अर्को डर छ । लामो समयदेखि नेपालभर सिनियर खेलाडीसँग यस्ता अभ्यस्त ‘उमेर ढँटुवा’ खेलाडीहरूको प्रदर्शनकै आधारमै यू–१९ राष्ट्रिय टोलीका हकदार बन्छन् । यसले सही उमेरका खेलाडी र उनीहरूको पारिवारिकै मानसिकतामा पनि ठूलो आघात पर्ने गर्छ । आफूभन्दा जेठा र अनुभवी खेलाडीसरह त्यो भन्दा राम्रो प्रर्दशन गर्नुपर्ने दबाबबीचमा नै यी खेलाडीहरू नराम्रोसँग पिल्सिने गर्छन् ।

खेलकुद

छनोटका लागि त्रिकोणात्मक भिडन्त

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा अन्तिम चरणको खेल बाँकी रहँदा ग्लोबल क्वालिफायरमा पुग्ने स्थानका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार चौथो चरणको खेलमा नेपालले मलेसियालाई ६ विकेट, यूएईले कुवेतलाई ७ विकेट र हङकङले भुटानलाई २० रनले पराजित गरेपछि अन्तिम चरणमा तीन टोलीबीच प्रतिस्पर्धा हुने देखिएको छ । ४ खेलबाट यूएईको ८ अंक छ । नेपाल र हङकङसँग ६–६ अंक छ ।
अन्तिम खेल नेपालले घरेलु टोली यूएईसँग खेल्नुपर्नेछ । हङकङले पुछारको टोली कुवेतसँग खेल्नेछ । यो खेलमा नेपाल पराजित भए यूएई ग्लोबल क्वालिफायरमा पुग्नेछ । तर, नेपाल र हङकङले आ–आफ्नो खेल जितेको अवस्थामा तीन टोलीको समान ८ अंक हुनेछ । त्यसपछि नतिजा नेट रनरेटका आधारमा हुनेछ । अहिलेसम्म नेपाल नेट रेनरेटमा यूएईभन्दा पछाडि छ । चार चरणको खेल नतिजाका आधारमा नेपालले यूएईलाई पराजित गर्न सकेमा ग्लोबल क्वालिफायर प्रवेशको सम्भावना प्रबल छ ।
महिला ट्वान्टी–२० विश्वकपकै एसिया क्वालिफायरको अघिल्लो संस्करणमा दुई टोली ग्लोबल क्वालिफायरमा पुग्ने व्यवस्था थियो । थाइल्यान्ड र यूएईले नेपाललाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका थिए । यसपल्ट पनि घरेलु टोलीलाई पराजित गर्नु नेपालका लागि कठिन हुनेछ ।
शुक्रबार मलेसियाविरुद्ध ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । प्रशिक्षक जगत टमाटाले हरेक खेलमा नेपालको ओपनिङ ब्याटरको परीक्षण गरिरहेका छन् । मलेसियाविरुद्ध सीता रानामगर र इन्दु बर्माले नेपालको ओपनिङ सम्हालेका थिए । इन्दु ४ रनमै आउट भइन् । तर, सीताले कप्तान रुबिना क्षेत्रीसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरिन् । सीताले ३८ बलमा ३ चौकासहित ३० तथा रुबिनाले २९ बलमा २० रनको योगदान गरेका थिए । कविता कुँवरले १० रन जोड्दा सरिता मगर १५ रनमा नटआउट रहिन् । नेपालले १३ अतिरिक्त रन पाएको थियो ।
दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले एल्सा हन्टरको ३९ रन मद्दतमा ७ विकेट गुमाएर ९२ रनको योगफल खडा गरेको थियो । इलसाले ४८ बलमा ४ चौका प्रहार गरिन् । उनीबाहेक युसरिना याकोप (१२) र मास इलिसा (१४) ले मात्र दोहोरो अंकको स्कोर गर्न सके । बलिङमा सवनम राईले २ विकेट लिइन् । कविता कुँवर, सीता र रुबिनाले १–१ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेकी सीता प्लेयर अफ द म्याच चुनिइन् ।

खेलकुद

चेसमा शीर्ष खेलाडीको अग्रता

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– जीओ इन्टेरियर फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको तीन चरण सकिँदा शीर्ष खेलाडी नै अगाडि छन् ।
शुक्रबार फिडे मास्टर मनीष हमाल र क्षितिज भण्डारी, पूर्वराष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, नवीन तण्डुकार र पुण्यमान कर्माचार्यले समान ३ अंक बटुलेका छन् । जगन्नाथ ताम्राकार, राजीव कार्की, सुमन राई, सजिन महर्जन, युवराज पौडेल, योगेश श्रेष्ठ, पूर्णराज खड्का, रञ्जित राई, रामकुमार कार्की, आशिष फुँयाल र धिरेन राईले पनि ३ अंक जोडेका छन् ।
१ सय ५० खेलाडी प्रतिस्पर्धी रहेको प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले ८ हजार, तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्विस लिग प्रणालीमा ९ चरणको हुनेछ । दुईदिने स्पर्धा जीओ इन्टेरियर र थापाथली चेस पार्कले आयोजना गरेका हुन् ।

खेलकुद

थ्रीस्टारविरुद्ध सातदोबाटो हाबी

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले शुक्रबार उत्कृष्ट पुनरागमन जित रचेको छ । यससँगै सुरुआती अंकतालिकाको शीर्षस्थान कब्जा गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर फ्रेन्ड्स क्लबलाई २–१ ले हरायो ।
शुक्रबारकै अर्को खेलमा लिगको नवप्रवेशी सातदोबाटो क्लबले तीनपल्टको लिग विजेता थ्रीस्टारलाई १–० ले स्तब्ध पार्‍यो । यो नतिजापछि संकटा र सातदोबाटोको समान ४ अंक भएको छ । संकटा गोलअन्तरले अगाडि रहेको हो । संकटाको जितमा फोडे फोफानाले खेल सकिन तीन मिनेट अगाडि निर्णायक गोल गरे । यसअघि फ्रेन्ड्सले प्रकाश बुढाथोकीको गोलमा ४२ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको ५७ औं मिनेटमा नीरज बस्नेतले बराबरी गोल फर्काए ।
सातदोबाटोको जितमा भने सुदीप गुरुङले २९ औं मिनेटमा विजयी गोल गरेका थिए । हारले थ्रीस्टार ३ अंकमै सीमित रह्यो । फ्रेन्ड्स भने १ अंकमै सीमित छ ।
फ्रेन्ड्सले लिगको तेस्रो खेलमा २ सय २२ मिनेटपछि पहिलो गोल गरे पनि त्यो आफूअनुकूल नतिजाका लागि पर्याप्त रहेन । यस्तै हारसँगै थ्रीस्टारको लगातार ५ खेलको यात्रामा पूर्णविराम लागेको छ । लिगको पछिल्लो संस्करणका चार खेलसहित यसपल्ट पहिलो खेल जितेको थ्रीस्टार छैटौं खेलमा आएर पराजित रह्यो ।

Page 9
कोसेली

इन्द्रजाल पढिरहेको बालक

- प्रमोद मिश्र

 

म त्यस्तै आठ–नौ वर्षको हुँदो हुँ, जब ममाथि ओझा बन्ने धुन सवार भयो । पूर्वी मोरङको हाम्रो गाउँ वरिपरि भूत–पिसाच (देउ) को जति बिगबिगी थियो, पाठा चोर्ने स्यालजस्तै, त्यति नै गाउँभित्र ओझा धामीहरूको जगजगी । कति त पुस्तैनीदेखि नै ओझागुनी गर्थे । कति अरूसँग सिकेर ओझा र धामी भएका थिए । गाउँ उत्तर केबियानी ‘झार’ मा ‘माहराज थान’ थियो, दुईवटा टिनका होचा छाना र सिकुटे सखुवाका खाँबा भएका खुला चारकुने घर । त्यसको मर्मत सम्भार अनि बर्सेनि पूजा र धामी बसाउने जिम्मा गाउँका दाउनियाँको थियो । गाउँ पश्चिमको देउता थानको जिम्मा भने एक जमानाका धनीमानी बिजनलालको परिवारको थियो, जोसँग एक समयमा दुई नाले टोटावाल बन्दुक हुने गर्थ्यो । दाउनियाँले बजार पूर्वका नामीगामी धामीलाई बोलाई धामी भराउँथे भने गाउँ पश्चिमको देउता थानको चमकदमक बिजनलालको जग्गाजमिन सिद्धिएसँगै हराइसकेको थियो । गाउँकै डम्फोका दाजु मगर एक जमानामा त्यहाँ धामी बस्थे अरे !
प्रत्येक वर्ष पूजाका दिन केबियानी देउता थानमा परेवा र बोकाको बलि चढ्थ्यो । बजारपारिको गाउँबाट आएका धामीको जीउमा देउता पस्थ्यो र काम छुटाउँथ्यो । राताराता आँखाले काम्दै धामीले हामी सबैलाई हेर्थे र भन्ने कुरा भन्थे । अन्त्यमा परेवाको टाउको हातले चुँडाएर रगत चुसेपछि काम्दै भुइँंमा घोप्टे पछारिन्थे अनि मात्रै देउता शान्त भएर धामीको जीउबाट सरेर आफ्नो बासमा जान्थे । देउता थानका देउता रिसाए भने त गाउँमा उपद्रो नै हुन्थ्यो । दादुरा, कामज्वरो, रगत छाद्ने रोग लाग्दा देउता रिसायो भन्ने गर्थे गाउँका बुज्रुक । एक साल हिउँदमा त मेरा बालसखा करक, गाउँकै केटी कान्द्री र मलाई बाघले माहराज थानमुनिको धान बाधमा झम्टेर रगताम्मे पार्‍यो । दाउनियाँका फुपाजु सुरुजले पल्लो गाउँबाट आएर सबैसँग मन्त्रणा गरेपछि भने, ‘केबियानी थानको देउता रिसाएजस्तो छ । त्यसैले बाघ पठाइदियो । नत्र यस्तो त कहिल्यै भाको थिएन । तैपनि काम छुट्ने धामी हुने विचार मेरो मनमा कहिल्यै आएन । को त्यसरी काम्न सक्छ
र ! परेवाको काँचै रगत खान सक्छ र ! परेवाको मासुका चोक्टा भएको झोल भए म विचार पनि गर्न सक्थें । तर, गाउँका धोद गोसाईं, गेठिया बूढा, भट्टीवालाजस्ता सुकिलै रही ‘झारफुक’ गर्ने ओझा हुन्, दृश्य–अदृश्य शक्तिहरूलाई वशीभूत पार्न म जे गर्न पनि तयार थिएँ ।
चार कक्षामा स्कुल फस्ट भए पनि मेरा क्लेशहरू हराएनन् । गाउँ, बजार र बजारपूर्वका केटाहरूले होच्याउन, नाम राख्न, गिज्याउन छाडेनन् । बजारमा बस्ने ‘देश’ बाट आएर माछा मार्ने, मिठाई बनाउने पेसा गरेर बसेका गोढी, हलुवाईका स्वास्नीमानिसले चोर औँला तेर्स्याउन छाडेनन् र फेरि शुकदेव मुनिका पछि लागेर किताबमा भएको दैव दानवका कथामा भएजस्तो मेरो अहिलेसम्मको जीवनमा कुनै चमत्कार पनि भएन । दसैँ–तिहारमा बर्सेनि पाउने एक पाउ खसीको मासुभन्दा मात्रा बढेन । शुकदेव मुनिजस्तो मेरो नाम–जस त भएन नै, म सात वर्षबाट आठ अनि नौ कटिरहेको थिएँ ।
ओझा बन्ने अरू कुनै उपाय नलागेपछि अन्त्यमा म चोर्न राजी भएँ । त्यसबेलासम्म मैले कसैको केही पनि चोरेको थिइनँ । बुवाको झुन्ड्याएको कुर्थाको गोजी मा खुद्रा पैसा खनखन बज्थे, तर मैले कहिल्यै गोजीमा हात हालिनँ । बाधमा सिला खोज्न जाँदा अरू केटाहरू काटेका धानका पाँजा पनि मिसाउँथे र एक दुई घण्टामै एक बोझा सिला पार्थे र घर ल्याउँथे । मैले कहिल्यै त्यसो गरिनँ ।
दाउनियाँको धमधमी बाधमा करकसँग सिला खोज्न जाँदा पनि पाँजाबाट धान मैले कहिल्यै आफ्नो सिलामा मिसाएको थिइनँ । अरू केटाहरू आफ्नो बाउको खेतको धान बोझाका बोझा दाउनी गर्ने ठाउँबाटै गायब पार्थे । अनि त्यो पैसाले खोप्पी खेल्थे । भएन पैसा अलि बढी भयो भने ट्वेन्टिनाइन नै खेल्थे हिउँदे र चैते बालीभरि । गाउँका दाउनियाँ, प्रधान, जोगीधापका संसारै तर्साउने लोकबहादुर र यस्तै गाउँ वरपरका ठूलाबडा बाह्रै मास तास खेल्थे– फुट्टीकट र ट्वेन्टिनाइन । मलाईचाहिँ खेल्ने ठाउँमा जान पनि बन्देज थियो । खोप्पी खेल्दा करकले पैसा मारेको मारेकै देखेर म ठिङ्ग उभिएको बुवाले देख्नुभएछ एक दिन र घर पुगेपछि सातो जानेगरी झपार्नुभयो, ‘अब आइन्दा मैले जुवातास खेलेको ठाउँमा देखेँ भने फेरि ।’ तीन वर्षको हुँदा बुवालाई नचिनी आमा–बहिनीका नाम काढेर मुख छाडेकाले बाघ–हाते झापड खाइसकेको सम्झना आलै थियो । त्यसपछि त म तिहारमा पनि डाइस र कौडा हान्ने ठाउँमा बिरलै पाइला टेक्थेँ, खेल्न त परै जाओस् । तर, त्यस दिन म ठूलै कुरा चोर्न तयार भएँको थिएँ किनकि नयाँ वर्षको काँटामेला आउनेवाला थियो र त्यहीँ एउटा गजबको चोरी गर्नुपर्ने थियो ।
यो सबको कारण गाउँवरिपरि अदृश्य घुमिरहने देउ र सैतान नै थिए र तिनका अगाडि मेरो स्कुले पढाइको कामै नलाग्ने अवस्था । फेरि स्कुलमा फस्ट हुँदा पनि केही लछारपाटो लागेन । केटाहरूले अनेक नाम राखेर जिल्याएको जिल्याई गरे । अर्कोतर्फ म न अरूका जस्ता मेरा कोही आफन्त, न जातभाइ, न भाषाभाषी मेरो रक्षामा उत्रिने । फेरि म न तिघ्रे, न पाखुरे । स्कुलको वार्षिक भालेजुधाइ खेलमा चन्द्रबहादुर विश्वकर्मासंँग बोले मितेरीले गर्दा सबै तिघ्र्रेहरूलाई छल्दै, छल्दै, तर्किँदै, तर्किँदै तिनीहरूलाई ढाल्ने काम चन्द्रलाई छाडिदिएर अन्त्यमा हामी दुई जना मात्रै घेराभित्र रहेकाले सेकेन्ड पुरस्कार पाएको थिएँ । फेरि बुवा पनि देशको देशै । आमालाई दही जमाउँदै, मुढी भुट्दै, बगिया–भक्का बानाउँदै र बेच्दै फुर्सद नहुने । यी सबको निराकरण पनि त्यही चोरीको सफलतामा निर्भर थियो ।
दृश्य–अदृश्य शक्तिहरूसँग जुध्न ओझा नबनी भएन भनेर कस्सिएँ । तर, ओझा गाउँमा बस्थे भने देउ र सैतान बाढीको भुमरीले बनाएको मोनिमा र पिठारीको रूखमा अदृश्य बस्थे । हामी केटाकेटी स्कुल जाँदा दोपहरियामा बेस्कन हाँगा अनि पात हल्लाउँदै तर्साउँथे । मोनिमा माछा भएर उफ्रिन्थे । जेनतेन मोनी पार गरे पनि शेर सिंहको पिठारीमुनि पुग्यो कि त्यसका हाँगापात बाँदर उफ्रेझैं हल्लिन थाल्थे । तर, रातो मुखे बाँदर र कालो मुखे ढेडु त गाउँछेउकै शेर सिंहको सिमल घारीमा मात्र आउँथे, सिमलको फूल खान वर्षमा एकचोटि । तर, पिठारीको एक्लो रूखमा बाह्रै मास कहाँबाट बाँदर आउने ! भूतले नै हल्लाएको हुनुपर्छ भन्ने पक्का हुन्थ्यो र त्यहाँ पुग्नेबित्तिकै कुलेलम ठोक्थें । बर्खामा त्यो स्कुल जाने गोरेटो हिलाम्मे हुन्थ्यो र हिलामा छापिएका हुन्थे सैतानका उल्टा पदचिह्न ! फेरि ‘सैतानले मार्दैन, सताउँछ बढी’ गाउँलेले भनेका थिए । धानघारीमा घिसारेर लग्यो र बेसमारी हिलोमा नाके बोली बोल्दै गोद्यो भने के गर्ने भन्ने मनमा त्रास सधैँ रहिरहन्थ्यो ।
फेरि गाउँमा कसैलाई ज्वरो आयो, काम ज्वरो चल्यो (यो काम ज्वरोले त मलाई छ, छ महिनामा भेट्थ्यो), प्रसूतिको मृत्यु भयो (गाउँमा महिलाहरू प्रायः प्रजननकै बेला बित्थे), जीउ दुख्यो कि देऊले भेट्यो भन्थे । गाईले दूध दिन छाड्यो, बच्चा राति धेर रोयो, हातखुट्टा, जीउ दुख्ने रोग लाग्यो कि धामी–बोक्सी र देउले भेट्यो भन्थे । र, बिमारी हेरी धोद गोसाईं, गेठिया बूढा वा भट्टीवाला ओझालाई बोलाई आख्रा (राजवंशी समाजमा ओझाले बिरामीको जाँच र निवारण गर्ने अनि मरणपछि जीव तार्ने अनुष्ठान) बसाउँथे । धोद गोसाईं, जो मेरा भाया बाबु पनि थिए (उनकी घरवालीसँग आमाले भाया लगाउनुभएको थियो) रुघा–खोकी, सामान्य ज्वरो, जीउ दुख्ने र मरणमा जीव तार्न आख्रा बासाउँथे । भट्टीवालाको विशेषता र विशेषज्ञता ‘तेल कस्ने’ (जडीबुटी तेलमा अनेक अनुष्ठान गरी तीनबाटो, चौबाटोमा उमाल्ने) थियो । तर, गेठिया बूढा सबभन्दा खतरनाक र खुँखार थिए । उनको विशेषता ‘देवीभवानीकालीसंसारी’ लाई वशीभूत पारेर मार पनि गर्न सक्थे, सम्भार पनि । म तिनीबाट डराउँथेँ । राजवंशी गाउँमा खवास भएर प्रधान मसा (ठूलो बुवा) कहाँ एक्लै आश्रित भई बसे पनि तिनको बडा रवाफ थियो । तिनी कहाँबाट गाउँमा आएका थिए भन्ने कुरा अहिले पनि मेरो खोजको विषय बनेको छ ।
अस्ति भर्खर गाउँमा प्रधान मसाकी छोरी ढाक्नीबाई (दिदी) लाई फोनमा सोध्दा, तिनले एउटा थाहा नभएको कुरा सुनाइन् । तिनका स्वर्गीय पति देवचन भिनाजु किशोरावास्थाका हुँदा नाच हेर्न एक–डेढ कोस पर सुँघा गाउँ जान तम्सिए र गेठिया बूढालाई पनि सँगै जान भने । देवचन दाउनियाँका भाई भएकाले गेठियासँगै नजाने कुरै थिएन । तर ‘के जाने तेत्रो टाढा !’ भनेर गेठियाले आलटाल गर्न खोजे । ‘अनि नाच हेर्न नजानु त ? म त जान्छु, तिमी नजाने भए’ भनेर अल्लारे देवचनले भने र बाटो लागे । ‘म तिम्लाई यहीँ नाच देखाइदिन्छु, भएन ? रातिउँदी के जाने त्यत्रो टाढा’ भनेर गेठियाले भनेछन् र गाउँबाहिर लगेर ‘कालीसंसारीभवानी’ सहित भूतप्रेतको नाच देखाइदिएछन् ।

मोहनी
यसै ओझा धामीको प्रभावका बीच पहाडबाट ठूलठूला सुनका मुन्द्री, बुलाकी र च्याप्टा–च्याप्टा कानमा पहेँलपुर सुनको फूली लगाएकी पाँच दिदीबहिनी धान काट्न हिउँदमा मधेस झरे र हाम्रो गाउँमा धोद गोसाईंको गुहालीमा बास बसे, आफ्ना केही दाजुभाइ सँगै । हाम्रो गाउँमा धान काट्न, खेत गोड्न दरभंगाको झंझारपुरसम्मका ‘दफेदार’ सहितका ‘धनकटनियाँ’ जनहरू आउँथे । गर्मी र बर्खामा पाटा गोड्न, काट्न र धुन उत्तर पूर्वी विहारका खोट्टा मुसलमान आउँथे । ती सबै पुरुष हुन्थे । बालीको काम सिद्धिएपछि ती सबै आ–आफ्ना घर परिवारमा फर्कन्थे । चारकोस दक्षिण देश मोरङको सीमाबाट एक हुल ‘ऋषिदेव्रिखियासन’
(मुसहर समुदायको आदरार्थी नाम) पनि धान काट्न आउँथे । तिनीहरूसँग एक जना सिंघेसर नाम गरेका कायस्थ कथावाचक पनि आउँथे, जो ऋषिदेव समुदायकी युवतीसँग प्रेममा परेर तिनीसँगै घरजम गरेर त्यही समुदायको गाउँमा बस्थे र त्यही समुदायका जनबनिहारहरूको दफेदारी गर्थे । त्यो हुद्दा हाम्रै आँगनका शेर सिंहको धान काट्थ्यो अनि मेजबानी मौसीको बैठकमा डेरा गरेर बर्खे र हिउँदे बाली हुन्जेल बस्थ्यो ।
मेजबानी मौसी बंगाली मुसलमान थिइन्– श्रीमान् र तिनका पाँच भाइसहित शेर सिंहको आँगनको दक्षिणपट्टि बस्थिन् । राति खाना खाइसकेपछि म आमालाई सिंघेसर बसेको मेजबानी मौसीको बैठकमा लैजान भन्थेँ र सिंघेसरबाट सेतो–रातो–कालो बाईपंखी घोडा, जगमग राजप्रासादमा बस्ने मोहिनीजस्ती राजकुमारी र तिनलाई पाउन तीन कुमार दाजुभाइका शौर्य र प्रेमका कथा सुन्थेँ । ‘देश’ बाट यी कुनै पनि ‘जन’ र तिनका दफेदारले स्वास्नीमान्छे ल्याउँदैनथे ।
तर, यी पहाडबाट धान काट्न झर्ने हँसिली दिदीबहिनीले त गाउँ नै हँसिलो बनाएका थिए । फेरि त के थियो गाउँका अधबैँसे कुमार, ‘ढेना’ (विधुर) र कति विवाहितका पनि मन विचलित हुन थाले । म त यी सब कुरा बुझ्दिनथेँ, तर आमाले भने सबै कुरा सुनाउनुहुन्थ्यो । गाउँका कुमारा अन्धर, अकबर दाजुभाइ, ढेना भएका धोद गोसाईं (मेरी ‘भाया आई’ को प्रसवकालमा मृत्यु भइसकेको थियो), गेठिया, जसको अतीत रहस्यमय थियो (ढेक्नी बाईले पनि हालैको फोन संवादमा गेठियाको अतीतबारे केही भन्न सकिनन्) र भुट्टेका धक्कर बाउ भुट्टेकी आमालाई ‘चुमान बिहा’ गरेका भट्टीवाला र अरू को–कोबीच भित्रभित्रै ती दिदीबहिनीलाई घरवाली बनाउन कम्पिटिसन हुन थाल्यो । आमाले भन्नुभयो, ‘यी गाउँका कुमारा अकबर–अन्धरहरूको ओझाहरूका अगाडि के चल्थ्यो ! हेर्दै जा न तेरो भाया बाबु नभए गेठियाले लान्छ यिनलाई किनभने तिनीहरूका घरवाली छैनन् र ओझा भएकाले टुनामुना, मोहनी पनि जान्दछन् ।’
यो सब लीला भइराखेका बेला ती पाँच दिदीबहिनीका दाजुभाइले भने केही नभन्ने ! अचम्मको कुरा ! किनभने गाउँमा कुनै युवाले कुनै युवतीसँग बात मात्रै मारेको सार्वजनिक भयो भने बबाल हुन्थ्यो । लुकीछिपीको कुरा भने अर्कै हो । तर, यहाँ त ती दिदीबहिनी बिहान खितितिति हाँस्दै धान काट्न हिँड्थे र साँझ खितितिति हाँस्दै धान काटेर फर्कन्थे, अनि यी गाउँका ओझा र गैरओझा रोमियोहरूसँग जिस्किन्थे । हाम्रो राजवंशी समाजमा (किनभने अरू समाजबारे मलाई केही जानकारी थिएन) केटावालले केटी हेर्थे मेलाबजारमा वा घरमै गएर र कुरा मिलेपछि केटीवाललाई ‘चुमान’ (नगद र गाईवस्तु) दिन्थे । अनि विवाह हुन्थ्यो । यहाँ त यी पाँच दिदीबहिनीहरू जहाँबाट आएका थिए, त्यहाँ त केटाले केटीसँग र केटीले केटासँग ठाडै बात मार्ने, हँसी–ठट्टा गर्ने र एक अर्कालाई फकाउने चलन रहेछ । आमा छक्क पर्नुहुन्थ्यो । गाउँको चलन बिगार्छन् यिनले भनेर गाउँका बुज्रुकले चिन्ता पोख्थे । तर, मलाई भने ओझाहरूबीच भएको मोहनी लाउने होडबाजीमा कसले बाजी मार्ला भन्ने कौतूहल थियो । दिदीबहिनीमा माइली निकै मिजासिली थिइन् र अकबर–अन्धर दाजुभाइमा अकबर निकै हिरो बन्न खोज्ने ! कपालमा तेलफूल लगाएर कोर्दै, गीत गाउँदै हिँड्ने ! तर, एक–दुई हिउँदे बालीपछि कुमार अकबर–अन्धर र अरू पत्नीविहीन ओझा हिस्स परे । भट्टीवालाले दिदीबहिनीको हूललाई चारकोसे झाडी पार गराएर सोझी, हाँस–बोल कम गर्ने जेठी दिदीलाई सँगै लिएर फर्केछन् । ओझाहरूबीच पनि प्रतियोगिता हुँदोरहेछ भनेर म छक्क परें । अनि त के थियो, मेरो मन्त्र सिक्ने र ओझा बन्ने धुनले अझ वेग लियो । तर, कसैलाई मोहनी लाउन होइन । मेरो त उद्देश्य अर्कै थियो ।

प्रयास
गेठिया सबभन्दा तिखा र खतरनाक ओझा भएकाले सबभन्दा पहिला तिनीअगाडि मलाई पनि ओझा बनाइदिनु भन्ने आँट गरें । ‘हैट !!’ भनेर झपारेपछि धोद गोसाईं कहाँ पुगेँ । एक/दुई खेप गाउँमा मरण हुँदा तिनले मलाई आख्रामा बसेको देखेर तोरी तेल भरिएको बल्दै गरेको माटोको दियोमा तुलसी पात चोबलेर जीवात्मा देखाउने प्रयास गरेका थिए । उनलाई भने, ‘मलाई पनि ओझा बन्नु छ । सिकाइदिनुस ।’ भट्टीवालाकहाँ गइनँ किनभने ती भुट्टेका धक्कर (झड्केला) बाउ थिए (त्यही भुट्टे, जो मलाई फुटेको आँखाले देखिसक्दैनथ्यो) । फेरि हामीजस्ता नानीकेटाकेटीसँग भट्टीवाला कहिल्यै बोल्दैनथे पनि । एकछिन विचार गरेर, धोद गोसाईंले भने, ‘सिकाउन त सिकाइदिन्थेँ । तर, तेरो बाउ रिसाउँछ किनभने तँ भइस् स्कुलिया छुवा (केटा) । तेरो पढाइ अर्कै छ र यो ज्ञान अर्कै हुन्छ । यो जन्तरमन्तर विद्या तेरो बुवालाई मन पर्दैन । आफ्नो स्कुलिया पढाइ गर । यता नलाग ।’ यति भनेर उनले मलाई टारे । तर म के हरेस खान्थेँ !
मेजबानी मौसीको गोठाला बस्ने जैनालाई गाई चराउँदै गरेको भेटेँ । जैना ओझागुनी सिक्दै छ भनेर मेजबानी मौसीले सुनाएकी थिइन् । जमात (मुसलमानहरूको घुमन्ते धार्मिक समूह) सँग आउँदा मुसलमानहरूमा मान्य सिक्टीका माजुद्दिनले जैनालाई ओझागुनी नसिक्न सार्वजनिक चेतावनी दिएका थिए– तन्त्रमन्त्र इस्लाम धर्ममा बन्देज भएकाले गर्दा । तर, जैनाले के मान्थ्यो ! भेटेर जैनालाई मन्त्र सिका भनेर भने । ‘के गर्छस् सिकेर’ भन्यो । ‘तँ स्कुलिया केटा । तेरो आमाले गाली गर्छ र तेरो बाउले पिट्न सक्छ तँलाई पनि, मलाई पनि ।’ ‘हैन, केही गर्नुहुन्न,’ भने, ‘किनभने थाहै दिन्न ।’ तर, जैना टसमस भएन । जब प्रत्येक मन्तरको तीन सुक्का याने बाह्र आना (सिला खोजेको पैसा) दिन्छु भने त्यसपछि बल्ल मान्यो, तर अर्को एउटा सर्त पनि राख्यो । त्यो सर्त सुन्दा मेरो जीउमा चटचट पसिना छुट्यो ।
त्यो सर्त थियो इन्द्रजाल किताब । जैनासँग पनि थिएन त्यो किताब । सिला खोजेको सबै पैसा हालेर किन्छु भने । ‘सुपथको पैसा हालेर किनेको किताब कहाँ काम लाग्छ ?’ भन्यो । ‘अनि ?’ मैले भने । ‘चोर्नुपर्छ । अनि मात्र चोटिलो हुन्छ त्यसबाट सिकेको मन्त्र विद्या ।’ ‘म त चोर्दिनँ’ भने । ‘त्यसोभए ओझा हुने कुरा बिर्सी, स्कुलिया पढाइमा लाग’ भन्यो । म त्यहाँबाट हिँड्न त हिँडे, तर मेरो अरू केही उपाय थिएन ओझा बन्ने । एक–दुई दिनपछि जैनालाई फेरि भेटेँ गाई चराउने बाधमा । ‘कहाँ भेट्छ त्यो किताब ?’ सोधेँ । ‘काँटा मेलामा’ भन्यो ।

परीक्षा
नयाँ वर्षका दिन हाम्रो गाउँ एक–डेढ कोस दक्षिण त्यो काँटा मेला लाग्थ्यो, जहाँ टाढाटाढा बाट गोडा, घोडा, साइकल, सम्पनीमा चार जात छत्तीस वर्णका मानिस मेला भर्न आउँथे । राजवंशीहरूका लागि मेला विशेष महत्त्वको थियो किनभने त्यहाँ औपचारिक र सामाजिक रूपमा केटा र केटी हेर्ने कार्यक्रम पनि हुन्थ्यो । म पनि सदसरी नानीको बैलगाडामा आमासँग मेला गएँ र बजारको एक फन्को लगाएँ किताबको पसल खोज्दै । ‘कहाँ कुदी कुदी हिन्छस् ? हराउलास् ! कस्ता कस्ता मानिस कहाँ कहाँबाट यहाँ आउँछन् के ठेगान !’, आमाले भन्नुभयो ।
तर, म किताब पसलमा पुग्दै, गाडीमा फर्कँदै गरिराखेको थिएँ । इन्द्रजाल किताब त देखेँ, बूढो पसलेको भुइँमा पसारिएका कुशवहा कान्त र गुलशन नन्दाका जासुसी उपन्यास र सत्यकथादेखि ‘मर्दहोनेके घरेलु नुस्खे’ र रामायण–महाभारत–गीतासम्मका किताबका बीच । तर, टिप्ने आँट आएन । तेस्रो खेपमा टिपेँ, ओल्टाई–पल्टाई हेरेँ र राखेर मेला घुम्न गएँ । अर्को खेपमा किताब यताउता हेर्दै पर्खिरहेँ । जब एक्कासि घुइँचो बढ्यो पसलमा, त्यो पातलो किताब लिएर फनक्क फर्कें र फटाफट बैलगाडा भए ठाममा आएँ । आमा हुनुहुन्नथियो, तर सदसरी नानीले भनिन्, ‘कहाँ कुदी हिँड्छस् ? चैनले बस्न सक्तैनस् ?’ नसुनेजस्तो गरेर जैनालाई देखाउन हिँडेँ । ‘यो इन्द्रजाल त हैन मैले भनेको’ भन्यो । मलाई त छानाबाट खसेको जस्तो भयो । ‘मैले भनेको किताब त मोटो छ नि । यस्तो पातलो किताबमा कति नै मन्तर हुन्छ र !’
त्यत्रो जोखिम मोलेको परिश्रम खेर गयो भनेर थकथक त लाग्यो, तर हरेस खाइनँ । फेरि पसले भएको ठाम गएँ । बूढो पसलेकहाँ थिएन जैनाले खोजेको त्यो मोटो इन्द्रजाल । अलिअलि दाह्री फूलेको, दाँत माथि उठेको, छेउकै पसलेकोमा त्यो इँटाजस्तो बाक्लो गाता भएको मोटो इन्द्रजालले मलाई नै घुरिरहेको थियो । त्यसको गातामा नरकंकालको तस्बिर त छँदै थियो, अनेकथरीका टुनामुना, उम्लँदै गरेका भाँडाका तस्बिरसहित एउटी लठ्ठ परेकी युवती र दाह्रीवालको तस्बिर पनि थियो । अनि ठूलो अक्षरमा लेखिएको थियो– ‘बडा इन्द्रजाल !’ म फुच्चेले त्यत्रो मोटो किताब कसरी टिप्ने, पसलेले अचम्म मानेर नजर ममाथि लाउला, मनमा भयो । तर, भाग्यले मानिसको भीड किताब किन्न त्यतिखेरै जम्मा भयो र मैले त्यो किताब टप्प टिपेँ, बजारतर्फ फर्केँ र सटासट बाटो लागेँ । बयलगाडा भएको ठाम पुग्दा त म पसिनाले भिजिसकेको थिएँ । आमा पनि त्यहाँ आइपुग्नुभएको रहेछ । ‘कहाँ कुदी हिँड्छस् । त्यत्रो मोटो किताब काँबाट ल्याइस् ?’ सोध्नुभयो । ‘जैनाको किताब हो, मलाई हेर्न देको छ’ भने । पसिना नओभाउँदै जैना भएको ठाम गएँ । ‘हो, यही नै मैले भनेको’ भनेर जैना खुसी भयो । ‘ली’ भनेर दिन खोज्दा मानेन । ‘माजुद्दिन मेलामा आएको छ र आज हाम्रै गाउँमा बस्छ । म त लान्न । तैँ लैजा । तँ स्कुलिया छस्, तँलाई कसैले केही भन्दैन ।’ यत्रो मोटो किताब म फुच्चेको हातमा देखेर के–को भन्दैन भनेर मनमनै सोचेँ र गाडीतर्फ लागेँ । आमा र सदसरी नानी दुवै त्यहाँ थिएनन् । मेरो पालो त्यो मोटो र अर्को पातलो दुवै इन्द्रजाल बयलगाडामा ओछ्याएको परालमुनि घुसारेँ र कुरेर बसिरहेँ । मेलामा सनपापडी, बदाम, मिठाई खाने कुरा सबै बिर्सें ।

प्रयोग
घर आएपछि किताब गुहालीमा लुकाएँ, आमाले देख्नुभयो भने मार्नुहुन्छ भनेर । शुकदेव मुनि भएको सुखसागर त पढ्न नदिने आमाले तन्त्रमन्त्रको किताब देख्नुभयो भने मार्नुहुन्छ, सोचेँ । त्यसपछि जैनासँग मिलेर किताबमा भएका प्रयोग गर्न थालेँ । पानीमा आगो लाउन पाउँदा विस्मित भएँ । तर, मेरो ध्येय त मलाई दुःख दिने मभन्दा बलिया स्कुले केटाहरूलाई भुक्ने कुकुर बनाउनु थियो । भूतप्रेतलाई भगाउनु थियो । अरू के–के गर्नु थियो । गाउँकै गोठाला मेरा दौँतरी हासिम डराई–डराई कुकुर बन्न तयार भयो । ‘कुकुर भई सकेपछि मानिसमा फर्काइनस् भने के गर्नु ?’ डराउँदै भन्यो । ‘हैन, फर्काईहाल्छु नि । मसँग मार र सम्भार दुवै छ’ भनेर ढाटेँ । एउटा ओझामा मार–सम्भार विद्या दुवै हुनु राम्रो भनेर सुनेको थिएँ । कुकुर बनाउने टुनामुना सबै भेला पारेर मल्हुको गुहालीमा हासिमलाई ख्वाएँ र मन्त्र पढेँ । एकछिन पर्खेँ । केही भएन । फेरि प्रक्रिया दोहोर्‍याएँ । हासिम जस्ताको तस्तै रह्यो– भुकेन पनि र चारखुट्टे पनि भएन । मेरै गराइमा केही खोट होला भनेर सोचेँ र प्रयोग जारी राख्ने निधो गरेँ । यसैबीच जैनाले इन्द्रजाल लग्यो, गाई चराउँदै सिक्दै गर्छु भनेर । म स्कुल र सतही दुनियाँतर्फ लागेँ ।

दहन
गर्मी बिदा लागेपछि जैनासँग ‘मेरो किताब दे’ भनेर मागेँ । ‘हेर न, माजुद्दिन जामात लिएर आएको थियो र साथमा आएको उस्मान मौलवीलाई कसले सुनाइदिएछ मसँग इन्द्रजाल छ भनेर । मलाई बेस्मारी गाली गर्‍यो र किताब खोस्यो । अनि बैठक अगाडिको आँगनमा ठूलो आगो बालेर– यह सब शैतानियत है । हराम है भन्दै त्यसैमा इन्द्रजाललाई हाल्दियो ।’ त्यो सुन्दा मलाई साह्रै रिस पनि उठ्यो र चयन पनि भयो । तिघ्रे केटाहरूलाई कुकुर बनाउन नपाइने भइयो । भूतप्रेतले तर्साइराख्ने भए भन्ने मनमा लागि रह्यो । अर्कोतर्फ ढुक्क के कुरामा भयो भने आमाले अब गाली गर्नुहुन्न कोर्सबाहिरको किताब पढ्यो भनेर । जे होस्, मेरो ओझा बन्ने, तन्त्रमन्त्र सिक्ने प्रयास तत्कालका लागि रोकियो ।

 

Page 10
कोसेली

५० वर्षअघिको कर्णाली

- जनकराज सापकोटा

आईए पास भएपछि नायब सुब्बाको जागिर सुरु गरेका विहारीकृष्ण श्रेष्ठको पहिलो पोस्टिङ थियो– त्रिभुवन ग्राम विकास विभागमा । संयोग कस्तो पर्‍यो भने त्यतिबेलै अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका मानवशास्त्री जोन हिचकक एक मानवशास्त्रीय अध्ययनका लागि नेपाल आएका थिए । ती मानवशास्त्रीलाई दोभासे उपलब्ध गराउने जिम्मेवारी थियो, ग्राम विकास विभागको ।
विभागका हाकिमले अंग्रेजी जानेका विहारीलाई सोधे– तिमी दोभासे भइदिन्छौ ?
भोलिपल्ट जोनले एकसरो अन्तर्वार्ता लिएपछि विहारी छनोटमा परे । मानवशास्त्री जोन उतिबेला स्याङ्जा जिल्लामा पर्ने किहुँ र वागलुङको ढोरपाटनका मगर जातिको तुलनात्मक सांस्कृतिक अध्ययन गर्दै थिए । उनी जोनसँग ३ महिना किहुँ र ६ महिना ढोरपाटन बसे । त्यस अध्ययनमा रुचिपूर्वक मानवशास्त्रीय अध्ययनमा संलग्न भएकाले उनी दोभोसेबाट रिसर्च असिस्टेन्टमा बदलिए । त्यही अध्ययनपछि हिचककले ‘द मर्गस अफ बन्याल हिल’ किताब लेखे ।
त्रिचन्द्र क्याम्पसबाट बीएको पढाइ सकेपछि विहारीले अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) को सहयोगमा अमेरिकाको मिसिगन स्टेट विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गर्ने अवसर पाए । पढाइ सकेर फर्केपछि तत्कालीन गृह पञ्चायत मन्त्रालयमा काम थाले । मन्त्रालयले उनलाई पञ्चायती व्यवस्था पढाउन सरकारी तवरबाटै खोलिएको एक समितिमा काम गर्ने गरी चितवन सरुवा गरिदियो । चितवनमा एकवर्षे जागिरमा हाकिमसँग कुरा नमिलेपछि गृहमै फर्किए । उनलाई के काम दिने होला भनेर मन्त्रालयका हाकिमहरू रनभुल्ल परिरहेका बेला तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट ‘मानवशास्त्री उपलब्ध गराइदिने’ भन्ने व्यहोराको पत्र मन्त्रालयमा आएको रहेछ ।
प्रतिष्ठानका सह–सदस्य रहेका सत्यमोहन जोशीले कर्णालीको सामाजिक, सांस्कृतिकलगायतका विषयमा पाँच फरक–फरक अध्ययन गर्ने काम अगाडि बढाएका थिए । कर्णाली लोक संस्कृति सर्वेक्षण नाम दिइएको उक्त अध्ययनमा इतिहासको अध्ययन गर्न जोशी आफैं कस्सिएका थिए भने भौगोलिक दृष्टिकोणको अध्ययन गर्न स्थिर जंगबहादुर सिंह, भाषाको अध्ययन गर्न चूडामणि बन्धु, साहित्य, संगीत–कलाको अध्ययन गर्न प्रदीप रिमाल छानिएका थिए । अब जोशीलाई खाँचो थियो, मानवशास्त्रीको । प्रतिष्ठानको पत्र देखाएर हाकिमले सोध्नेबित्तिकै विहारी जुम्ला जान तयार भइहाले ।
२०२७ जेठमा पाँच जनाको टोली जुम्ला जाने भयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत काम गरिरहेको विदेशी संस्था सर इन्स्टिच्युट अफ लिङ्गुइस्टिक्ससँग सानो एक इन्जिन भएको ६ सिटे हवाईजहाज थियो । त्यही जहाज चढेर उनीहरू काठमाडौंबाट जुम्लाको सदरमुकाम खलंगा पुगे । एअरपोर्टबाट सोझै अञ्चलाधीश बद्रीविक्रम थापाको क्वार्टर पुगे । प्रशासनिक काम बोकेर सरकारी कर्मचारीबाहेक अरू मुस्किलले पुग्ने जुम्लामा उनीहरू आएको देखेपछि अञ्चलाधीशले छक्क परेझैं सोधे, ‘तपाईंहरू यहाँ किन आउनुभएको ? यहाँ त हेर्ने केही कुरै छैन ।’
विहारीले सम्झनाको पत्र उप्काउँदै सुनाए, ‘जुम्ला त अर्कै ग्रहजस्तो थियो । न बजार थियो, न कुनै कारोबार ।’ उनका अनुसार, जुम्लामा त्यतिबेला तीनथरी मानिस थिए, एक उनीहरू आफैं, दोस्रो इष्ट र तेस्रो गोर्खाली अर्थात् सरकारी कर्मचारीहरू, जसलाई जुम्लीहरू ‘गोर्खाली’ भन्थे ।
उनका अनुसार, लामो समय कुमाउ गढवालका खस शासकहरूबाट शासित कर्णाली क्षेत्र गोर्खा राज्यमा विलीन भए पनि आफ्नै विशेष अस्तित्व भएको छुट्टै सांस्कृतिक क्षेत्रको रूपमा रहिरहेको थियो । कर्णाली प्रशासनिक रूपमा काठमाडौंसँग जोडिए पनि अन्य प्रभावबाट भने अलग्गै थियो ।
सदरमुकामबाट पाँचै जना अनुसन्धानकर्मी पाँच दिन हिँडेर हाडसिंजा पुगेका थिए । विहारीका अनुसार, त्यतिबेला स्थानीय भरियाहरू, जसलाई ‘भारी फाल्ने’ भनिन्थ्यो, जो गाउँको साँधसम्म पुगेर भारी फाल्थे र फर्किन्थे । अनि अर्को गाउँसम्मका लागि नयाँ भारी फाल्नेहरू खोजिन्थ्यो । गाउँ–गाउँमा उनीहरूका लागि बास र खानाको व्यवस्था भने स्थानीयको परम्परागत रूपमा बाँधिएको पालोअनुसार व्यवस्था हुन्थ्यो । विहारीले सुनाए, ‘आफूहरू जौ र गौं खाने भए पनि गोर्खाली आउँदा ख्वाउन चामल जोगाएर राखेका हुन्थे । परम्परागत पालोअनुसार कसैले चामल दिने, कसैले दाल र कसैले भाँडाकुँडा त कसैले दाउरा पानी दिएर चुलो बल्थ्यो ।’
पश्चिम बगेको तिला नदी पछ्याउँदै सिन्जा खोलाको दोभानबाट उकालो लागेर अनुसन्धानकर्मीको टोली हाडसिन्जा गाउँ पुगे । सबैको आ–आफ्नो विषय क्षेत्रअनुसार अध्ययन सुरु गरे । विहारीले भने मानवशास्त्रीय अध्ययनअनुसार, ठकुरीहरूको आँखाबाट मिश्रित समाजको अध्ययन सुरु गरे । त्यहाँ कथित तल्लो जातका भनिने कामी, दमाई र सार्कीजस्ता जातकालाई कमसेल भन्थे भने कथित उपल्लो जातका मानिने बाहुन–क्षत्रीलाई चोखा । उनका अनुसार, त्यहाँका कमसेलको काम चोखाको सेवकजस्तो हैसियतमा थियो ।
उनीहरू करिब एक महिना हाडसिन्जा बसे । विहारीले भने २८ दिन लगाएर २१ घरको अध्ययन गरे । त्यहाँ एक घरबाहेक २० घरकै श्रीमतीहरू दोस्रो वा तेस्रो विवाह गरेर आएका थिए । यस्तो अभ्यासबारे अचम्म मानेर उनले एक स्थानीयसँग चासो राखेछन् । तिनले बडो सानका साथ बताएछन्, ‘मर्दले त हो अर्काकी स्वास्नी ल्याउने ।’ विहारीले हाँस्दै सुनाए, ‘अर्काकी स्वास्नी ल्याउनुलाई मर्दपना ठानिने चलन पो रहेछ ।’
अध्ययनका क्रममा पारिवारिक र निजी कुराहरू पनि लेख्नुपर्ने हुन्थ्यो । व्यक्तिगत गोपनीयता खुल्ने डरले उनले मानवशास्त्रीय अध्ययनको नियमअनुसार गाउँको नाम बदलेर किताबको नाम ‘दियारगाउँका ठकुरीहरू’ राखे । उनीसँगै गएका अन्य चारले पनि विभिन्न चार शीर्षकमा पुस्तक तयार पारे, जसलाई तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले २०२८ सालमा प्रकाशित गर्‍यो । यी पाँचै पुस्तकले २०२८ सालमा मदन पुरस्कार पाए ।
पचास वर्षअघि छापिएका यी पाँचै पुस्तक केही साताअघि अनुसन्धानमूलक काम गर्ने संस्था सोसल साइन्स बहाः र हिमाल किताबले पुनः मुद्रण गर्‍यो । पाँचै पुस्तकको नवसंस्करण विमोचनमा जुम्लाका सासंद छक्कबहादुर लामाले कर्णाली भनेको विलुप्त संसार भएको बताउँदै यी पुस्तकले ‘त्यो संसारलाई’ अनुसन्धानमार्फत बाहिर ल्याइदिएको बताए । कर्णालीको अद्वितीय र रहस्यमय संसार किताबले उजागर गरेको बताउँदै उनले भनेका थिए, ‘कर्णालीको पुनर्जागरणमा यी किताबले मद्दत पुर्‍याउनेछन् ।’
विहारीले पुराना दिन सम्झिँदै भनेका थिए, ‘हामीले देखे–भोगेको जुम्ला अर्कै ग्रहको संसारजस्तो थियो । सायदै त्यो अब कसैले देख्न पाउला ।’
अध्ययन सकेर फर्केपछिका कैयन वर्षसम्म विहारीका निम्ति हाडसिन्जावासी इष्टजस्तै भएका थिए । केही जुम्लीहरू कामविशेषले काठमाडौं आएका बेला विहारीलाई भेटिहाल्थे । एक जना जुम्ली व्यापारी त काठमाडौं आएका बेला विहारीकै बैंक खातामा पैसा जम्मा गर्थे र चाहिएका बखत विहारीलाई भनेर निकाल्थे । आफूमाथि उनले देखाएको विश्वास सम्झेर विहारी अहिले पनि मुसुक्क मुस्काउँछन् ।
अध्ययन सकेको २० वर्षपछि पनि हाडसिन्जाले विहारीलाई बोलाएजस्तै भयो । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को नेपाल प्रमुख थिए, एक समय एसियाली विकास बैंकमा कार्यरत एक जर्मन नागरिक । अमेरिकन दूतावासले दिएको एउटा रिसेप्सनमा विहारीको भेट तिनै जर्मनसँग भयो । पुरानै चिनाजानीको फेरो समातेर ती जर्मनले उनलाई भने, ‘विहारी तिमी फेरि जुम्ला गएर तुलनात्मक अध्ययन किन गर्दैनौं ?’
नभन्दै त्यो भेटपछि इसिमोडले फोर्ड फाउन्डेसनको लगानीमा विहारीलाई हाडसिन्जाको बदलिँदो स्वरूपबारे अध्ययन गर्न पठायो, विसं २०४७ सालमा । त्यो थियो पञ्चायत सकिएर प्रजातन्त्र आएपछिको समय । विहारी फेरि हाडसिन्जा पुगे ।
२० वर्षको अन्तरमा जुम्ला धेरै फेरिएको थियो । परिवर्तनको बाछिटाबाट हाडसिन्जा पनि अछुतो थिएन । दुई दशकअघि १२ दिनको पैदल नापेर हाट गर्न नेपालगन्ज जाने जुम्लीहरूको पैदलयात्रा छोटिएर ६ दिनको भएछ । किनकि त्यतिबेला सुर्खेतसम्म मोटरबाटो पुगिसकेको थियो । स्थानीयले सरकारी कर्मचारीलाई गोर्खाली भन्न छाडिसकेका थिए । ऐंचोपैंचोमा चल्ने प्रणालीको सट्टा दोकानहरू खुल्न थालिसकेका थिए । रैथानी बालीबाट गुजारा चलाउने जुम्लीले ओखर र स्याउजस्ता नगदेबाली लगाउन सुरु गरेछन् ।
दोस्रोपटक उनले ४२ घरको विस्तृत अध्ययन गरे । विहारीले अध्ययनको सार खिचेझैं सुनाए, ‘गरिब त झनै गरिब भएछन्, धनी झन् धनी । बाहिरबाट जाने विकास र निर्माणको पैसामा पनि ठालुहरूकै हालीमुहाली हुने भएकाले उनीहरू झनै धनी भएछन् ।’ विहारी पुग्ने बेला प्रजातन्त्र स्थापनापछिको पहिलो चुनाव हुँदै थियो । कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार भोट माग्दै घर घर पुगिरहेका थिए । भोट नदिए ठीक नहुने भनेर उनीहरूले घुर्की पनि लगाइरहेका थिए । विहारीले सुनाए, ‘उम्मेदवार रिसाउँलान् भनेर अधिकांश कमसेल अर्थात् दलितहरूले परिवारको भोट बाढेर तीनैवटा पार्टीलाई दिएछन् ।’
त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन संस्थान (सिनास) मा रिडरका रूपमा समेत एक वर्ष काम गरेका र तीन दशक समय सरकारी सेवामा बिताएका विहारी उतिबेलाको बेग्लै स्वरूपको जुम्लालाई आफूले जसरी नजिकबाट देख्न र अनुभव गर्न अब कसैले नसक्ने बताउँछन् । डाक्टर हर्क गुरुङका अनुसार, तेह्रौं शताब्दीतिर निर्माण भएको दुई कोस लामो जचौरी कुलोको व्यवस्थापन स्थानीय समुदायले कसरी गरिरहेको छ भनेर विहारीले त्यही अध्ययनका क्रममा जान्न–बुझ्न पाए । त्यही बुझाइले उनलाई विसं २०३९ मा विकेन्द्रीकरण ऐन तर्जुमा गर्ने बेला उपभोक्ता समूहको अवधारणा समावेश गर्न सघायो । एक समय राजदरबारको जाँचबुझ केन्द्रमा विशेष अधिकृतका रूपमा काम गरेका र २०४७ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा पजनीमा परेर पदमुक्त भएका विहारी अहिले पनि जुम्लाको मानवशास्त्रीय अध्ययनमा संग्लन भएको समयलाई जीवनकै सबैभन्दा गतिलो कामका रूपमा सम्झिन्छन् ।
८० वर्षीय विहारीले भने, ‘साबिकको कुमाउ गढवाल सम्मिलित सांस्कृतिक क्षेत्रलाई धेरै पहिले नै छोडिसकेको, तर नेपाल अधिराज्यको सांस्कृतिक मूल प्रवाहमा नमिसिइसकेको जुम्लाको समाज देख्न र भोग्न पायौं । कमैले पाउने त्यो अवसर मैले पनि पाएँ । थ्याक्स गढ !’

कोसेली

'पेसेवर’ हरूकै अनुवाद टीठलाग्दा

- कान्तिपुर संवाददाता

 

भारतीय मूलका नेपाली लेखक छुदेन काविमोको उपन्यास ॅफातसुङ’ लाई ॅसङ अफ द सोयल’ शीर्षकमा अंग्रेजी–अनुवाद गरेका छन् लेखक/प्रकाशक अजित बरालले । पहिचान र गोर्खाल्यान्ड आन्दोलनमाथि लेखिएको ॅफातसुङ’ सन् २०१९ मा नेपालीमा प्रकाशित भएको थियो । बरालसँग गरिएको वार्ता :

अन्तर्राष्ट्रिय ‘पब्लिसिङ ट्रेन्ड’ बुझ्न, प्रकाशित ‘इनोभेसन’ हरू थाहा पाउन, लेखक र ‘लिटरेरी एजेन्ट’ सँग सम्पर्क बढाउन हामीले धेरै वर्षअघिदेखि अन्तर्राष्ट्रिय पुस्तक तथा ‘राइट्स’ मेलामा भाग लिँदै आएका छौं । मेलामा सहभागी हुँदा विभिन्न लेखकका पुस्तकको ‘राइट्स’— चाहे त्यो फिल्म राइट्स होस् या अनुवाद या अर्को टेरिटोरी (स्थान) का लागि होस्— किनबेच भइरहेको देख्यौं । हामी आफैंले पनि नेपाली अनुवाद अधिकार किन्दै आएका छौं । तर, सबैभन्दा खट्किने कुरा, अधिकार बेच्न हामीसँग पुस्तक हुँदैन । किनकि हाम्रा पुस्तक (ब्रिज ल्याङ्ग्वेज) अङ्ग्रेजी भाषामा अनूदित छैनन् । यो त हाम्रो उपभोग्य वस्तुको अवस्थाजस्तै भयो— निर्यात गर्ने केही नहुने, खालि आयात मात्रै गर्ने ! यो स्थितिलाई केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्छ भनेर हामीले प्रकाशन गरेका राम्रा साहित्य, जसलाई अन्तर्राष्ट्रिय साहित्यको कसीमा दाँज्न सकिन्छ, तिनलाई बिस्तारै अनुवाद गर्न थालेका छौं । खुसीको कुरा, ‘फातसुङ’ को अङ्ग्रेजी अनुवाद आइसक्यो, त्यो पनि नेपाल, भारत र यूकेबाट । बुद्धिसागरको ‘कर्नाली ब्लुज’ को अनुवाद अर्को महिना आउँदै छ । नयनराज पाण्डेको ‘उलार’ र अमर न्यौपानेको ‘सेतो धरती’ अनुवाद भइसकेका छन् । शिवानीसिंह थारूको ‘काठमाडौंमा एक
दिन’, पाण्डेको ‘लू’, ‘सल्लीपिर’ अनुवाद हुने क्रममै छन् ।

हाम्रो ध्वस्त अनुवाद
केही अपवाद छाड्ने हो भने विदेशी भाषाबाट गरिएका नेपाली अनुवादले मलाई सन्तुष्ट पारेका छैनन् । अधिकांश अनुवाद अनधिकृत रूपमा भइरहेका छन् । त्यसरी भइरहेका अनुवादबाट हामी गुणस्तरको आशा गर्न सक्दैनौं । मलाई लाग्छ, अनुवादकमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण स्रोत भाषा (जुन भाषाबाट अनुवाद गरिन्छ) र लक्ष्य भाषा (जुन भाषामा अनुवाद गरिन्छ) माथिको पकड हो । अर्को महत्त्वपूर्ण गुण पाठ (टेक्स्ट) प्रतिको वफादारी । मुख्यतः यी दुई गुणले अनूदित पुस्तक कति ‘अथेन्टिक’ छ भन्ने निर्धारण गर्छ ।
अनुवादका लागि मैले ‘फातसुङ’ छान्नुका कारण छन् । पहिलो, छुदेन काविमोको भाषिक मीठास, जुन हामीले ‘फातसुङ’ मा मात्र होइन, उनका फुटकर रचनामा पनि पाउँछौं । दोस्रो, पहिचानका लागि नेपालभाषी भारतीयले गरेको गोर्खाल्यान्ड आन्दोलन र हाम्रै माओवादी सशस्त्र युद्धबीचका समानताहरू, जसका कारण यसको कथा ममा अझ बढी प्रतिध्वनित भएको लाग्यो । तेस्रो, उपन्यासको आकार । सानो, चिटिक्कको ‘फातसुङ’ ले अनुवाद सुरु गरेर सक्न सक्छु भन्ने आँट दियो ।
अनुवाद जटिल कार्य हो । उपन्यासमा प्रयुक्त लवजलाई लक्ष्य भाषामा ठ्याक्कै उतार्न गाह्रो हुन्छ । त्यो कमजोरी उपन्यासमा पक्कै छ । नेपाली उखानलाई कसरी अनुवाद गर्ने भन्नेमा म अलमलमा थिएँ । झ्याम्पल, खुर्मीजस्ता स्थानविशेषका शब्दको अर्थ नबुझेर लेखकलाई सोध्नुपरेको थियो । ‘आलु काटी तरकारी तामालाई, नचलाउनू गोर्खाली आमालाई’ भन्ने गीतांश अनुवाद गर्न नजानेर त्यसलाई नेपालीमै राखिदिएको थिएँ । तर, छुदेनको लेखाइ सरल भएकाले अनुवाद कार्य एकदम दुरूहचाहिँ भएन ।
अनुवादमा लगाव भएका, स्रोत भाषा र लक्ष्य भाषा दुवैमा राम्रो पकड भएकाहरूले भन्दा ‘पेसेवर’ हरूबाट अनुवाद भइरहेकाले नेपालको अनुवादको गुणस्तर टीठलाग्दो छ । ध्वस्त अनुवादमा किताबको मौलिकता खोज्न सकिँदैन ।

अनुवादकको इमानदारी
अनुवादक पाठप्रति वफादर हुनुपर्छ । उसले पुस्तकमा जे छ, त्यही अनुवाद गर्नुपर्छ, त्यसमा मनलागी थपघट गर्न पाउँदैन । त्यसैले अनुवादकले पुस्तकको विषयबारे थप अनुसन्धान गर्नु पर्दैन । तर, विषयगत ज्ञान भए अनुवादलाई सहज हुने भएकाले उसले सम्बन्धित पुस्तक पढ्दा राम्रो हुन्छ ।
राम्रा नेपाली साहित्यहरू फाट्टफुट्ट मात्रै अङ्ग्रेजीमा अनुवाद भएका छन् । हामीले अनुवादको गति र गुणस्तरलाई बढाउँदै लैजानुपर्छ । तब मात्रै हाम्रो साहित्यले अन्तर्राष्ट्रिय साहित्यमा आफ्नो स्थान बनाउन सक्नेछ ।

अनुवाद–चुनौती
मूल कृतिको शैली, भ्वाइस समात्नु र संस्कृतिविशेष विषयलाई अति–व्याख्या नगरी लक्ष्य भाषाका पाठकलाई बुझाउनु अनुवादकका मुख्य चुनौती रहेछन् । अनुवाद सिर्जनात्मक काम हो कि विशुद्ध प्राविधिक भन्ने बहस उहिल्यैदेखि छ । तर, अहिले अनुवाद सिर्जनात्मक कार्य हो भन्नेहरूको मत बढी हुँदै आएझैं लाग्छ । अनुवादकलाई लेखकसरह नै व्यवहार गरिनुपर्छ, अनुवादकको नाम लेखकको नामसँगै कभरमा लेखिनुपर्छ भन्ने मान्यता प्रखर रूपमा उठिरहेको छ । मलाई पनि लाग्छ, अनुवाद लेखनजत्तिकै सिर्जनात्मक कार्य हो । अनुवाद कार्य मूल पाठको प्रतिलेखनजस्तो भए पनि यसका लागि यथेष्ट सिर्जनात्मकता चाहिन्छ— विशेषगरी मूल किताबको शैली, भ्वाइस, भाषिक र सांस्कृतिक विशेषतालाई अर्को भाषामा रूपान्तरण गर्दा ।

धेरै अनुवाद हुनुपर्छ
मलाई सधैं लाग्छ, अनुवाद नभएरै नेपाली साहित्य नेपालको सीमाबाहिर जान सकेन । तर, अनुवाद भएर मात्रै नेपाली साहित्यले विश्व साहित्यमा आफ्नो पहिचान बनाउन सक्छ भन्नेचाहिँ होइन । त्यसका लागि अनुवाद धेरै हुनुपर्छ, राम्रो साहित्यको हुनुपर्छ अनि राम्रोसँग हुनुपर्छ ।
नेपालीमा अनुवाद गर्नैपर्ने किताब सयौंमा होइन, हजारौंमा छन् । अहिलेको आवश्यकता भनेको हाम्रो विचारलाई दिशा र आकार दिने, हाम्रो समाज, इतिहास, साहित्य, अर्थराजनीतिलाई बुझ्न सघाउने पुस्तक हुन् । त्यस्ता पुस्तकको अनुवाद हुनुपर्छ भन्ने लाग्छ ।

कोसेली

सहरमा नयाँ किताब

- कान्तिपुर संवाददाता

विद्युत् ः उत्पादन, प्रसारण र वितरण
लेखक ः इ. शम्भुप्रसाद उपाध्याय
प्रकाशक ः डा. अर्चना पोखरेल
पृष्ठ ः ६८६
मूल्य ः ८९०।–
विधा ः गैरआख्यान
लामो समय विद्युत् प्राधिकरणमा काम गरेका लेखक शम्भुप्रसाद उपाध्यायले आफ्नो प्राविधिक तथा व्यावहारिक ज्ञानका आधारमा जलविद्युत् उत्पादन, प्रसारण र वितरणका साथै इलेक्ट्रिकल इन्जिनियरिङका अन्य आधारभूत विषयमा केन्द्रित भई सो क्षेत्रको विद्यार्थीलाई लक्षित गरी तयार पारेको पाठ्यपुस्तक हो यो । विद्युत्सम्बन्धी लगभग १२०० प्रश्नोत्तर यसमा समावेश छन् । विशेषतः विद्युत् प्राधिकरणको पाँचौं तहसम्मका परीक्षार्थीलाई किताब उपयोगी छ ।


टाँकीका फूलहरू
लेखक ः दाजु गुरूङ
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः १६५
मूल्य ः २५०।–
विधा ः आख्यान
हङकङलाई कर्मथलो बनाएका लेखकले यस कथासंग्रहमा रोजगारीको खाजीमा बाहिरिएकाको संघर्षलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । किताबका १७ कथाले प्रवासमा रहेकाको मनोविज्ञान बुझ्न सघाउँछ ।


न्युयोर्क कोरोना डायरी
लेखक ः लक्ष्मी श्रेष्ठ
प्रकाशक ः रत्नपुस्तक भण्डार
पृष्ठ ः २८८
मूल्य ः ४७५।–
विधा ः संस्मरण
न्युयोर्कनिवासी लेखक लक्ष्मी श्रेष्ठले कोभिड महामारीका बेला (मार्च २०२०–मार्च २०२१) लेखेको डायरीको पुस्तकाकार रुप हो यो । व्यक्तिगत अनुभवसँगै न्युयोर्कका आप्रवासी नेपालीको कोभिडकालीन कथा पनि यसमा छ ।


तृषाफल
लेखक ः कृष्ण विहल
प्रकाशक ः योङ पिकासो
पृष्ठ ः ४५५
मूल्य ः ४४५।–
विधा ः आख्यान
प्रेम कथामा आधारित यो आख्यान लेखकको तेस्रो किताब हो । सहरकेन्द्रित पात्रहरुले करियरसँगै प्रेम सम्बन्धमा आएका उतारचढावलाई कसरी धैर्यपूर्वक व्यवस्थापन गर्छन् भन्ने विषयवरिपरि कथा लेखिएको छ । यौन आकांक्षा, तृष्णा र यौवनावस्थाको भावनात्मक उच्छाललाई देखाउने सामाजिक यथार्थपरक आख्यान हो यो ।

Page 11
कोसेली

मिलारेपा–गुफाको यादमा

- लीला न्याईंच्याईं

 

हामी गुरु मिलारेपाको यादमा लप्ची गाउँतर्फ यात्रारत थियौं ।
लप्ची गाउँ तीनैतिरबाट घेरिएको छ– चिनियाँ भूभागले । नेपालको अन्तिम गाउँ भने हुन्छ लप्चीलाई । एघार सय वर्षभन्दा पहिलेदेखि तिब्बती समुदाय बस्छन् यहाँ । उनीहरू नेपालमा शेर्पा भनेर चिनिन्छन् । भनिन्छ– प्रसिद्ध बौद्ध गुरु मिलारेपा आएसँगै लप्ची गाउँमा मान्छेहरू बस्न थालेका हुन् ।
मिलारेपा केवल तिब्बतका बौद्ध धर्म गुरु थिएनन् । उनी एक ठूला तन्त्र–साधक पनि मानिन्थे । फुन्चोक स्टोबडानको किताब ‘द ग्रेट गेम इन द बुद्धिस्ट हिमालयज्’ मा लेखिएको छ, ‘हाम्रा हिमाली क्षेत्रहरूमा अभ्यास गरिएको बौद्ध धर्ममा गुरु मिलारेपा र मारपाको प्रभाव छ ।’ एउटा कथाले भन्छ– मानसिक शान्तिका लागि मिलारेपाले लप्ची गाउँका गुफामा वर्षौं–वर्षसम्म ध्यान गरे । ती गुफा अहिले पनि यहाँ छन् । र, उनी ध्यान बसेकैले लप्ची गाउँ पवित्र स्थल मानिन्छ । बौद्ध धर्ममा तीन महत्त्वपूर्ण तीर्थस्थानमध्ये एक यही गाउँको लप्ची गुम्बा हो ।

राति बास बस्न टेन्ट टाँगिसकेपछि छेउमै मुढा बालेर आगो तापिरहेका थियौं ।
हातमा तातो चियाको कप थियो । ठीक अघि कुर्लीकुर्ली झरिरहेको थियो झरना । जुङ खोला बेतोडले भीमकाय ढुंगामा छाल हानिरहेको थियो । खोलामाथि झोलुंगे पुल र चारैतिर चराचुरुंगीका मधुर आवाज । म थिएँ त्यसकै रसपानमा मग्न । नेपाली भूगोलका सुन्दर पाटा नियाल्नकै लागि यात्रा थालेको थिएँ । त्यो थियो यात्राको १३ दिनपछि घर फर्किरहेको
अन्तिम हिँडाइ ।
हामी दोलखा जिल्ला बिगु नगरपालिकाको लप्ची गाउँ पुगेर फर्केका थियौँ । मेरो पूरै परिवार, दुई साथी र तीन स्थानीय मित्र यात्रामा थियौं । वरपर थियो खोला, झरना, पुल, जंगल अनि हामी आठ मनुवा मात्रै । जंगली जनावर थिए होलान्, हामीले नदेख्नेगरी ! दुई असाध्यै ठूला ढुंगामुनि टेन्ट टाँगेका थियौं । जंगलका भीमकाय ती ढुंगा, झरना, खोला हुन् हाम्रा सम्पदा ।

कठिन यात्राको सम्झना
दोलखा जिल्लामा साना–ठूला जलविद्युत् परियोजना बनिरहेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् परियोजना एक उदाहरण हो, जुन गत वर्ष २०२० जुलाईमा केपी ओलीले उद्घाटन गरे । यसको बाँध लामाबगरमा निर्मित छ । यही बाँधको पानी भरिएर लामाबगरबाट लप्चीतिर जाने पुरानो बाटो पानीमुनि पुरियो । तर, नयाँ बाटो बनिसकेको छैन । लामाबगरको बाँधभित्रबाट सिँढीहरू बनाइएका छन् । यी सिँढी उक्लनेबित्तिकै सीधै चिप्लो ढुंगामा हिँड्नुपर्थ्यो, जहाँ फलामका डन्डी ठोकिएका थिए । र, त्यसैको कापमा पाइला अड्काएर हामी हिँडेका थियौं । एकैछिन मात्र त्यसरी हिँड्नुपरेको भए त्यो हिँडाइ यहाँ नसम्झिए पनि हुन्थ्यो । तर, बाटो भन्न नमिल्ने एकदमै चिप्लो ढुंगा, चिप्लो माटोमा पूरै पाँच घण्टा हिँड्नुपरेको थियो ।
सहयात्री चारपटकसम्म चिप्लिएर झुन्डिए । संयोगले अरू सहपाठीले सहयात्रीको पाखुरा समातेर जोगिए । सम्झेर अहिले पनि तर्सिन्छु, नत्र हाम्रा सहयात्री तल तामाकोसीको बाँधले भरिएको पानीमुनि पुग्नेथिए । अर्का एक साथी भारीसहित लडे । धन्न निगालाको झ्याङमा अड्किए । डरैडरमा काँप्दै हिँड्न हामी अभिशप्त थियौं । मन नआत्तिओस् भनेर आफैंलाई खुब सम्हाल्थें । जतिसक्दो चाँडो त्यो लम्बाइ सकियोस् भन्ने सोच्दै हिँडेँ । कहिले सँगै हिँडिरहेको छोराको पीरमा हिँडे । कहिले आफ्नै पाइला दरिलोसँग सारेँ कि सारिनँ भन्ने चिन्तामा हिँडेँ । त्यो हिँडाइको एकदमै सानो गल्ती पनि जिन्दगीको अन्तिम गल्ती हुन सक्थ्यो । खासमा रमाइलोका लागि हिँडेका थियौं । नत्र यात्रा भयानक खतरनाक थियो । बीच बाटोबाट फर्किनु पनि सही निर्णय हुने थिएन । बस् अगाडि तेर्सिएको बाटो हिँड्नु थियो । मेरो अनुहार रातो देखिएन होला, तर आफूमा पूरै तातो आगो महसुस गरिरहेको थिएँ ।
कठिन परिश्रमपछि हामी तामाकोसी किनारमा पुग्यौं । त्यहाँको चिसो पानीमा खुट्टा डुबाएपछि बल्ल शान्त र शीलत अनुभूति भयो । कठिन पहाडको पहाराबाट झर्न सकेकोमा सन्तोष लिएँ । खासमा त्यो बाटो जंगली जन्तुका लागि थियो । मान्छेका हिँड्नयोग्य थिएन त्यो बाटो । यद्यपि स्थानीय मान्छेहरू भारी बोकेरै त्यो पहरामा ओहोरदोहोर गरिरहका थिए । बाटो छिचोल्न कठिन छ भन्ने जान्दाजान्दै पनि कोही कपडाको जुत्तामा त कोही सामान्य चप्पलै त्यो भीर पार गरिरहेका थिए । पहारोमा एक मात्र सहारा थियो निगालोको । निगालोलाई मनैदेखि धन्यवाद दियौं । निगालोका बोटहरू मजस्ता यात्रीका सहारा भएका थिए । र, ती जरैदेखि उखेलिएका थिए । जुङ खोला तरिसकेपछि दुई ठूला पहिरा पार गर्नुपर्थ्यो । बल्ल यात्राको कठिन समय समाप्त भयो । तर, लम्बाइ त बाँकी नै थियो । अघिल्लो दिनसम्म यात्रामा हामी आठ जना मात्रै एकनास हिँडिरहेका थियौं । लुमनाङमा बास बस्दा अरू केही यात्रु भेटिए । बाटो खन्दै गरेका ती नेपालीहरूलाई भेट्न पाउँदा, सँगै बास बस्न पाउँदा एउटा सानो गाउँ नै जमघट भएको अनुभव भएथ्यो ।
लुमनाङको कथा
तिब्बतअन्तर्गत पर्थ्यो लप्ची गाउँ । गाउँलेहरूले जाडोमा चौरी झार्ने स्थान थियो– लुमनाङ । लुमनाङ नेपालतिर पर्थ्यो । गाउँले भन्छन्– त्यसपछि उनीहरूले नेपालमै बस्ने सोचे । चीन–नेपालको सीमा सन्धिपछि लप्ची गाउँ नेपाली सरहदभित्र परेको थियो । सीमाविद् बुद्धिनारायण श्रेष्ठको किताब ‘बोर्डर म्यानेजमेन्ट’ मा लेखिएको छ, ‘लामाबगर सन् १९६१ भन्दा पहिलाको नेपाल–चीनको सीमा हो ।’
सन् १९६१ मा सिमानासम्बन्धी सन्धि गरी नेपाल–चीनका सबै सीमा विवाद सल्टिएको थियो । त्यस सीमा सन्धिबाट नेपाललाई दोलखा जिल्लामा १०४.२५ वर्ग किमि चीनबाट प्राप्त थियो । र, चीनले नेपालबाट २८.२५वर्ग किमि साटेको थियो । युद्धकालीन समयमा भारत–चीनबीचको सीमा सन्धिपछि भारतले नेपाली भूमिमा सैन्य पोस्टहरू राखेको थियो । त्यही कालखण्डमा दोलखाको लामाबगरमा पनि भारतीय सेनाले सन् १९५९ देखि १९६९ सम्म उत्तरी चेकपोस्ट राखेको कुरा ‘बोर्डर म्यानेजमेन्ट’ मा लेखिएको छ । हाल नेपालको सीमा अनुगमन पोस्ट पनि लामाबगरमै राखिएको छ ।
लामाबगर कटिसकेपछिको पहिलो मानव बस्ती हो लुमनाङ । यो शेर्पाहरूको गाउँ हो । ती शेर्पा लप्ची गाउँकै हुन् । लुमनाङ हिउँदमा बस्ने बस्ती हो भने लप्ची गृष्मकालीन बसाइँ गर्ने गाउँ हो । यसरी मौसमी बसाइँ गरी जिउने नेपाली समुदायसँगको साक्षात्कार मेरा लागि पहिलो थियो । बालबच्चाको लालनपालन, स्कुल, दैनिकी अनि हरेक वर्ष सरिरहने जीवनशैली !
त्यो जान्नु मेरा लगि फरक अनुभूति थियो । खेतीपातीमा हुर्केको मेरो जीवन–अनुभवभन्दा भिन्न थियो जीवन– चौंरीपालन र चौंरीसँगै बितिरहेको उनीहरूको जीवन ।
महिलाहरू लामो शेर्पिनी कपडामा र पुरुषहरू सामान्य पाइन्ट–ज्याकेटमा थिए । त्यो हिमाली क्षेत्रको ठाडो उकालो चढेपछि भेटिने खुला चउरजस्ता खर्कहरूमा घाँस काटिरहेका महिला–पुरुषहरू थिए । बिरलै भेटिने ती अनजान मान्छेहरू धेरै समयपछि भटिएका आफन्तीजस्ता लाग्थे । ढुंगाका छाप्राहरूमा काठको छानो लाएर बस्ने उनीहरू चौंरीका लागि घाँस बन्दोबस्ती गर्न निकै समय मिहिनेत गर्दारहेछन् । आफैंले मात्रै घाँस काटेर नभ्याउने हुँदा लामाबगर पारिका तामाङ बस्तीबाट समेत ज्यामी लगाउँदा रहेछन् । ती निजी घाँसे मैदानको उनीहरू मासिक रूपमा प्रतिरोपनी करिब पन्ध्र सय रुपैयाँ भाडा तिर्छन् । बाटोमा भेटिएका ती रमाइला खुला खर्क व्यक्तिकै निजी जमिन रहेछन् ।

फोन सम्पर्कको एउटै माध्यम
लुमनाङ गाउँलाई दायाँ छोडेर हामी लप्ची गाउँका लागि बिहानै हिँड्यौं । जंगल र खर्कहरू हुँदै हिँडेका हामीले त्यो दिन खानामा ताजा हरियो साग खान पाउने भयौं । एक्लै सानो छाप्रोमा बसेका बाजेले प्लास्टिकभित्र साग फलाएका थिए । उनकै छाप्रोको आँगनमा हामीले लप्ची गाउँका एक जना दाजु भेट्यौं, जो नेपाल–चीन सिमानाको ५७ नं पिल्लर राख्ने बेला गएका थिए । त्यो पिल्लरमा पुर्‍याइदिन अनुरोध गर्‍यौं । तर, हिमालमा हिउँ भरिइसकेकाले त्यो मौसममा जान नसकिने उनले बताए । त्यो दिन लप्ची गाउँसम्म पुग्न पनि गाह्रो भयो । हामी थेसिङ भन्ने ठाउँमा बनाइएको पोटर हाउसमा बास बस्यौं, जहाँ भिस्याट फोनको व्यवस्था थियो । तीन दिन लगातार घरबाट सम्पर्कविहीन बनेका हामी फोन सुविधा पाउँदा हर्षित भयौं । लप्ची गाउँका गाउँलेका लागि यही फोन नै हो, एक मात्रै सम्पर्कको माध्यम । विदेशबाट लप्ची गाउँको गुम्बामा ध्यान गर्न आएका लामाहरूलाई पनि यही फोनको भर थियो । हामी पुगेको दोस्रो दिन कश्मीर र काठमाडौं घर भएका केही लामालाई हामीले गुम्बामा भेटेका थियौं, जो अघिल्लो रात थेसिङ पुगेका थिए फोन गर्न । त्यहाँ इन्टरनेट सुविधाबारे सोच्नु बेकार थियो । सम्पर्क सञ्चारका कुनै पनि माध्यम थिएन लप्ची गाउँमा ।

गाउँको गुम्बा–गुम्बाको गाउँ
लामाबगर माथि जति गोरेटा बाटा थिए, जति पुल–पुलेसा, खुड्किला थिए– सबै लप्ची गुम्बाको अगुवाइमा बनाइएका थिए । गुम्बा धार्मिक आस्थाको केन्द्र मात्र थिएन, त्यहाँको स्थानीय भौतिक–सामाजिक आवश्यकता पूरा गर्ने स्थानीय संस्था पनि थियो । गुम्बावरपर वृद्धाश्रम पनि थियो । गुम्बा नै एक मात्र त्यस्तो संस्था थियो, जसले लप्ची गाउँवासीका लागि सार्वजनिक कामको अगुवाइ गर्थ्यो । धर्म केवल धर्ममा सीमित थिएन, त्यो सामाजिक दायित्व वहन गर्ने एउटा केन्द्र पनि थियो । त्यसबाहेक दोस्रो कुनै संस्था थिएन त्यहाँ ।
गाउँलेहरू सधैं काममै व्यस्त रहन्छन् । उनीहरूको खास काम हो– चौंरीपालन । गाउँमा काम गर्न नसक्ने मात्रै भेटिन्थे । त्यहाँका साना नानीहरू, नवजवानहरू पढ्न या काम गर्न काठमाडौं, भारतको देहरादुनजस्ता सहरमा छन् । दुई वर्षका एक नानीबाहेक अरू साना नानी हामीले गाउँमा भेटेनौं । सबै घर खाली–खाली थिए । लप्चीमा गाउँमा ३० घरधुरी छ । सबै एकअर्काका कुटुम्ब हुन् । उनीहरूको बिहेबारी गाउँभित्र चल्दैन । पहिले नायलम (तिब्बत), कुतीतिर बिहेवारी चल्थ्यो । तिब्बती प्रशासनले ०७२ को भूकम्पपछि अन्तरदेशीय विवाह गर्न रोक्यो । एक लामा भन्छन्, ‘बिहे गर्ने उमेरका यहाँका १३ जनाले वर पाएका छैनन् ।’ लप्ची गाउँका मानिस तिब्बतमा चौंरी बेच्छन् । तिब्बतको आलु उनीहरू खान्छन् ।
लप्ची गुम्बा व्यवस्थापनका अध्यक्षसँग गुम्बामा भेट भयो । गाउँका नानीहरूको पढाइ व्यस्थापनमा ध्यान दिएको उनले सुनाए । सबैजसो नानीलाई तिब्बती भाषा र बौद्ध शिक्षा दिइएको उनले सुनाए । काठमाडौंबाट एक जना लामा रिम्पोचे पनि त्यहाँ पुगेका थिए । डोल्पा, काठमाडौ, गोर्खालगायतका बौद्ध अनुयायी एवं कर्नाटक, कश्मीर, लद्दाखलगायतका विदेशी बौद्ध अनुयायी बौद्ध ज्ञान सिक्न महिनौं–वर्षौंदेखि त्यहाँका गुम्बा र गुफामा ध्यानमा मग्न थिए ।
बौद्ध ज्ञानको प्रयोग–अभ्यास हुँदै आएको त्यो ठाउँमा नेपालको बौद्ध विश्वविद्यालयको पनि कुनै अनुसन्धान र अध्ययन केन्द्र बनेको भए कस्तो गजब हुनेथियो । नेपालका परम्परागत धार्मिक चिन्तन, दर्शन र त्यसका प्रयोगबारे वैज्ञानिक एवं शैक्षिक अध्ययन–अनुसन्धानको असाध्यै कमी छ । लप्ची गाउँ पुग्दा बौद्ध धर्मको चिन्तन गर्ने अत्यन्तै उपयोगी स्थान भेटेको अनुभव भयो । यो स्थानबारे विदेशीहरू जति जानकार छन्, नेपालीहरू बेखबर छन् ।
अघि भेटिएका रिम्पोचेले बताएका थिए, ‘विकटता नै हो यो क्षेत्र पवित्र भइरहनुको कारण ।’ अब यो ठाउँले नयाँ परिवर्तन माग गरिरहेको लाग्यो । गाउँका एक युवा (जो तिब्बतसँग सानो व्यापार गर्छन्) ले भने, ‘तिब्बततिर जाँदा एक दिनमै चार लाइनको राजमार्ग भेटिन्छ, तर नेपालमा दुई दिनको बाटोमा बल्ल सामान्य मोटरबाटो भेटिन्छ । अबको पाँच वर्षमा हामी पनि बाटोको पहुँचमा पुग्ने आशा छ ।’
अहिले लामाबगरबाट दुई हजार रुपैयाँको समान खरिद गरी लप्चीसम्म लैजान भरियालाई सात हजार रुपैयाँ ज्याला तिर्नुपर्छ । खाद्यान्न असाध्यै महँगो भएको गुम्बाका लामाको दुखेसो थियो । उमेरले ८० नाघेका एक वृद्धले भनेका थिए– दुई वर्षदेखि तिब्बतको सीमा खुलेको छैन । त्यसैले यो गाउँ सुनसान र एकाकी छ ।
अतिथि भेटेर खुसी भएका लप्ची गाउँका मान्छेहरूले हामीलाई रैथाने छुर्पी दिए, १० वर्षे बालकलाई चाउचाउ, चक्लेट दिए । ५६ नं को नेपाल–चीन सीमास्तम्भ हेरेर–छोएर फर्कंदा हामीले चिनियाँ चाउचाउ र चकलेट पायौं– उपहारमा । चिनियाँ बजारसँगको नेपाली सामीप्य त्यो सिमानाको गाउँमा प्रत्यक्ष भेटिन्छ ।

कोसेली

जंगबहादुरको त्यो जनगणना

- कान्तिपुर संवाददाता

 

जंगबहादुर राणाले विसं १९१० मा गराएको जनगणना के ‘जनगणना’ थिएन ? त्यसलाई होइन भन्ने हो भने ५८ वर्षपछि चन्द्रशमशेरको पालामा भएको जनगणना पनि ‘जनगणना’ थिएन । यदि चन्द्रशमशेरको जनगणनालाई ‘जनगणना’ मान्ने हो भने जंगबहादुरको जनगणना पनि ‘जनगणना’ नै हो । यत्ति ठोकुवा गर्छन्, इतिहासकार त्रिरत्न मानन्धर । अहिले पनि हाम्रोमा जनगणना चलिरहेको छ र यतिबेला जंगबहादुर–युगको ‘जनगणना’ सम्झिनु सान्दर्भिक हुन्छ ।
भन्दै आएका छौं, चन्द्रशमशेरले विक्रम संवत् १९६८ मा गराएको जनगणना नै पहिलो हो । त्यो भनेको सन् १९११ को कुरा भयो । तर, हामीसँग जंगबहादुर–पालाको त्यस्ता दस्ताबेज उपलब्ध छन्, जसले भन्छ– उनकै पालामा नेपालमा पहिलो जनगणना भएको थियो । त्यो पक्कै पनि अहिलेजस्तो ‘वैज्ञानिक’ विधि, प्रक्रिया पुर्‍याएर गरिएको थिएन । जंगबहादुरका छोरा पद्मजंगले लेखेका छन्– जन्म र मृत्युको अभिलेख राख्न जनगणना गरिएको थियो ।
जंगबहादुर सन् १९०७ को अन्त्यतिर बेलायत यात्राबाट फर्केका थिए । बेलायतमा उनले धेरै थोक देखे, अनि त्यसबाट उनी प्रभावित पनि भए । सम्भवतः त्यसकै आधारमा उनले जनगणना गराएको हुन सक्छ । त्यसअघि जंगबहादुरले सन् १९१० मा नेपालको पहिलो मुलुकी ऐन जारी गरे । त्यसपछि उनले जनगणना गराएको देखिन्छ, वर्षको अन्त्यतिर । यसमा मुख्य गरी काठमाडौं उपत्यकाका तीन सहरको जनगणना गरिएको छ ।
पश्चिमतिर दाङ, सल्यान र प्यूठानसम्म पनि जनगणना गरिएको छ । यस्तै पाल्पा, अर्घाखाँचीसम्म पनि जनगणक पुगेका थिए । तर, आश्चर्यको कुरा के छ भने पूर्वतिर कतै जनगणना गरिएको देखिन्न । यस्तो किन भयो, यसको उत्तर छैन । हुन सक्छ, पहिले काठमाडौं र पश्चिमको काम सकाएपछि पूर्वतिर काम गर्ने योजना बनाइएको थियो । त्यतिबेला अहिलेजस्तो स्रोतसाधन थिएन, त्यसैले एकैचोटि सबै काम गर्न नसकिएको पनि हुन सक्छ ।
जंगबहादुरले विशेष गरी काठमाडौं सहरको जनगणनामा ध्यान दिएका छन् । त्यतिबेला काठमाडौं सहर कस्तो थियो ? इतिहासकार मानन्धर भन्छन्, ‘इन्द्रजात्राका बेला बौद्ध नेवार उपाकु यात्रामा निस्कने गर्छन् । यसक्रममा सहर घुम्ने काम गर्छन् । यो मध्यकालदेखि चल्दै आएको छ । त्यही सहरी क्षेत्रलाई जंगबहादुरले काठमाडौं सहर भनेर मानेका छन् ।’ काठमाडौंमा टुकुचा, पश्चिम बाग्मती उत्तर, विष्णुमती पूर्व, ठमेल चौकी सडक, दक्षिण सहरलाई काठमाडौं साध सिमा मानेर जनगणना गरिएको देखिन्छ ।
पश्चिमी सीमा विष्णुमतीलाई मानिएको छ । विष्णुमती नदी भनिए पनि जनगणनाको काम न्ह्योखासम्म मात्र गरिएको छ । अहिलेको भुराख्यसम्म पनि जनगणना गरिएको छैन । सम्भवतः त्यतिबेला न्ह्योखाभन्दा पर बस्ती थिएन । भुराख्यः नेवारको देवाली मनाउने ठाउँ हो । त्यहाँ बस्ती नै बसेको थिएन होला । उत्तरी सीमा ठमेल चौकी लेखिएको छ । तर, ठमेल चौकी लेखिए पनि जनगणना ठंहितिसम्म मात्र गरिएको थियो । अहिलेको ठंहितिको उत्तरमा नजिकै क्वाबहाः छ ।
त्यो वस्ती मध्यकालकै हो । तर, त्यसमा यसबारे उल्लेख छैन्, खालि ठंहितिसम्म मात्र छ । दक्षिणमा भने वाग्मती नदीलाई सीमा मानिएको छ । तर, वाग्मती
नदी भनिए पनि जनगणना लगन, ब्रह्मटोलसम्म गरिएको छ । यो पनि ठ्याक्कै उपाकु यात्रा गर्ने घेराभित्रै पर्छ । यही चार किल्लालाई जंगबहादुरले काठमाडौं सहर मानेका छन् । त्यतिबेला जगगणनामा घर संख्या र मानिसको संख्याको आधारमा गरिएको थियो ।
घरलाई पनि दुई प्रकारमा विभाजन गरिएको थियो । एउटा झिंगटी घर, अर्को परालको । धेरैको परालको घर थियो, केहीको पनि झिंगटी र पराल दुवैको घर भएको उल्लेख छ । मानिसको जनगणना गर्दा लोग्ने मानिस र स्वास्नी मानिस भनेर छुट्याइएको छ । घरमूलीको नामदेखि पसलहरूको विवरण, पसल साहुजीको नाम, उक्त टोलका मठ–मन्दिर, देवालय, पाटी, सत्तल, ईनार, धारा र पोखरीको पनि विवरण जनगणनामा समेटिएको थियो । विसं १९१०, १९११ र १९१३ मा गरिएको त्यस हस्तलिखित जनगणनामा भक्तपुरका २४ टोल, पाटनका २५ टोलको विस्तृत विवरण समेटिएको छ । जनगणनामा त्यतिबेला काठमाडौंको घर संख्या ७ हजार ८ सय ८२ र जनसंख्या ४६ हजार ७ सय ७५ रहेको उल्लेख छ ।

स्रोत के ?
त्यो जनगणनाको कागजात खोज्ने श्रेय जगदीशचन्द्र रेग्मीलाई जान्छ, उनले यसबारे धेरैअघि लेखेका थिए । मानन्धर भन्छन्, ‘यो तथ्य स्पष्ट खुलाउनैपर्छ । जंगबहादुरको जनगणनाको कागजात मलाई उहाँले मलाई दिनुभएको पनि थियो । भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय अभिलेखालयमा रहेको कागजातले पनि जंगबहादुरले गरेको जनगणनाको संकेत गर्छ ।’ ठीक यहाँनिर पद्मजंगले आफ्नो पुस्तकमा लेखेको पनि उल्लेख हुन आवश्यक छ । जंगबहादुरको जीवनीसम्बन्धी पुस्तकमा सन् १८६४ मा जनगणना गरिएको थियो भनी लेखिएको छ । त्यो भनेका विक्रम संवत्मा १९१९–१९२० तिर । तर, हामीसँग भएको कागजातले अर्कै तथ्य भन्छ, काठमाडौं सहरको जनगणना विवरण विक्रम संवत् १९११ जेठ सुदी २ मा तयार भएको भनेर उल्लेख छ ।
त्यसको अर्थ जनगणना १९१० मै भएको मान्न सकिन्छ । विवरण तयार पार्दा त्यो काममा खटिएका दुई कर्मचारीको नामसमेत छ । ती हुन्, कप्तान सताराम खत्री र सुवेदार जगतबहादुर खत्री । सताराम जंगबहादुरका निकै नजिकका विश्वासिला कर्मचारी थिए । जंगबहादुरको प्रसंगमा उनको नाम धेरैपल्ट आउँछ । इतिहासकार मानन्धरको निचोड छ– चन्द्रशमशेरको पालामा विधिवत् रूपमा जनगणना सुरु भएको हो, तर जंगबहादुरले गरेको जनगणनालाई नै पहिलो मान्नुपर्छ ।

जंगबहादुरलाई जस
चन्द्रशमशेरको पालामा भएको जनगणनाबारे पनि हामीसँग अहिलेको जस्तो पर्याप्त जानकारी छैन । उनीपछि भने नियमित प्रत्येक १०/१० वर्षमा जनगणना भयो । तर, जंगबहादुरको जनगणनाको ऐतिहासिक महत्त्वलाई कसरी कम आँक्न मिल्छ ? त्यो १९ औं शताब्दीको मध्यसमय थियो, जतिबेला इटाली र जर्मनीको एकीकरण पनि भएको थिएन । अनि पूरै युरोपभरि अत्याचारी राजतन्त्रकै
शासन थियो ।
मानन्धर भन्छन्, ‘यस्तै बेला जंगबहादुरले भएको प्रविधि प्रयोग गरेर जनगणना गरे । बेलायतबाट फर्केपछि उनले सबैभन्दा पहिले मुलुकी ऐन जारी गरे, अनि तुरुन्तै जनगणना गरे । यो सबै काम जंगबहादुर शक्तिमा आएको आठ वर्षपछि भएको हो ।’

Page 12
कोसेली

'तिम्रो सुन्दर रूपमा बस्छु म’

- गणेश रसिक

 


४७ वर्ष लामो सहयात्रा र सहचार्यपछि जीवनसाथी नीरा शेरचनले एकाएक साथ छाडिन् । र, म एक महिनायता एक्लिएको छु । संयोग के छ भने काठमाडौंमा डेरा जीवनबाट सुरु भएको नीरासँगको सहयात्रा डेरामै टुंगिएको छ, पत्यारै नहुने गरी ।
२०३१ सालको एक शुभसाइतमा हामी धोबीचौरको डेरामा थियौं, नवजीवनको तादात्म्य र उन्माद बोकेर । लगत्तै कालिकास्थान सर्‍यौं अनि धोबीधारा र त्यसपछि जाउलाखेल । २०३४ सालतिर हामी नक्साल भगवती–बहालछेउको डेराघरमा आइपुग्यौं । कर्नेल गेहेन्द्रजंग थापाको पहेंलो घरमा हामी डेरामा बसेका थियौं ।
यी कर्नेल एक जना इन्जिनियर हुन्, जसले राजविराजको सहरीकरण योजना तय गरेका थिए । कर्नेलको घर नक्साल क्षेत्रकै राम्रो भएकाले ००७ सालदेखि नै त्यहाँ मन्त्री र उच्च पदस्थहरू भाडामा बस्थे । परिस्थितिवश त्यही घरमा म डेरा गर्न पुगें । कस्तो किस्सा चलेको थियो भने त्यो घरमा बस्नासाथै कोही मन्त्री भइहाल्नेछ भन्ने थियो । तर, म त्यो कोटामा परिनँ ।
आफ्नो काम र कुदाकुद चलिरहेकै थियो । गायक भइटोपलेको नचाहिँदो ‘भ्रम’ साथैमा थियो, साथमा लेकाली छँदै थियो । त्यही रन्कोमाझ आफूले चाहेको काममा उपलब्धि मिलोस्, मनमा शान्तिले बास गरोस्, मन चञ्चल नबनोस् भन्नैका लागि म घर–आँगनको भगवतीबहाल जान थालेँ । नियमित भगवतीको आराधना गर्न थालेँ । अचम्मैसँग मलाई देवी–देउताप्रति आस्था जाग्न थाल्यो । बहालमा रहेका बूढा–पुराना श्रद्धालु र त्यहाँका पुजारीहरूलाई भगवतीबहाल र त्यहाँको मूर्तिबारे जिज्ञासा राख्न थालेँ । लिच्छविकालीन भगवती मूर्तिबारे अनेक किस्सा रहेछन्, त्यसमध्ये एउटा भने कला सृजना र साधनामा जोडिएको रहेछ, त्यसले मलाई हुरुक्कै पार्ने गरी छोयो । अनि, त्यसैको सोधीखोजीमा म लागेँ ।
...
सोधीखोजीकै क्रममा काभ्रेमा रहेको पलाञ्चोक भगवती, शोभाभगवती र नक्साल भगवतीबारे एउटै युगको एउटै कलाकारको ‘मिथ’ जस्तै सूचना पाएँ । लिच्छविकालीन एक राजाकै पालामा एक स्थानीय कलाकारले पलाञ्चोक भगवतीको मूर्ति बनाएका थिएछन्, मूर्ति बन्दै गर्दा यो खबर राजाकहाँ पुग्नासाथै ‘आफ्नो अनुमति नलिई बनाएको’ अथवा ‘आफूलाई बढी क्षमतासिद्ध देखाउन खोजेको’ भन्दै राजाले त्यो कलाकारको दाहिने हात काटिदिएछन् । तैपनि कला र कलाकारको त्यो ढिट स्वभाव तथा हृदयदेखिको लगाव त बाँचेकै थियो । फेरि अर्को चरणमा त्यही कलाकारले देब्रे हातका भरमा शोभाभगवतीको मूर्ति बनाएछन्, राजाले यो थाहा पाएर उसको देब्रे हात पनि काटिदिए । पलाञ्चोक भगवतीलाई नेपालकै उत्कृष्ट शिल्पी भएको मूर्तिका रूपमा लिने गरिन्छ । नभन्दै दाहिने हातले बनाएको मानिने पलाञ्चोक भगवतीको ‘फिनिसिङ’ निकै राम्रो छ, देब्रे हातले बनाएको शोभाभगवती ठीकै मात्र छ । यो ‘रे’ को कुरा मात्रै हो अथवा यसमा केही ऐतिहासिकता र तथ्य छ भन्ने सरोकार अझै पनि मेरो खोजीमै छ ।
संयोगले काभ्रेनिवासी स्थानीय विषयका जानकार अध्येता गोपीकृष्ण खरेललाई पनि मैले यो मूर्तिको किस्सा र कलाकारको लगावबारे सरोकार राखेको थिएँ । उहाँले यसको ऐतिहासिकता र सुनेबुझेको कुरा सुनाउनुभएको थियो । लाजिम्पाटमा डिल्लीरमण रेग्मी पुस्तकालयमा रहेको ‘लिच्छविकालीन सन्दर्भ’ पुस्तकमा भगवती मूर्तिबारेको ऐतिहासिकतामा केही लेखिएको जानकारीसमेत दिनुभयो (सम्भवतः यो कृति ‘लिच्छविकालीन अभिलेख’ हुन सक्छ ।) यसबारे इतिहासविद् दिनेशराज पन्तलाई पनि एक पटक सोधेको थिएँ, तत्कालै खासै जवाफ पाइनँ । तर, आफ्नै दौडधुप र बीचमा कोरोना संक्रमणको बहानाबाजीमाझ भगवती मूर्ति निर्माणबारे मैले थप जानकारी पाउन सकेको छैन ।
तर, कहीँ–कतैबाट कहानी बन्दै आएको ‘रे’ कै कुरा भए पनि मलाई भगवतीको मूर्तिमा जोडिएको विषयले सधैं खोतलिरह्यो— मन–मस्तिष्कमा । मैले यसमा धार्मिक वा आध्यात्मिक दृष्टिभन्दा पनि मूर्ति सृजनाप्रति कलाकारको प्रेम देखेँ । प्रेम र समर्पण कतिसम्म भने त्यही कलाकारले दुवै हात काट्दा पनि हार नमानेर खुट्टाले समेत मूर्ति बनाएको किस्सा पनि सुनेको थिएँ ।
यही प्रभाव र अलौकिक खालको अमूर्त भावमाझ मैले २०६० सालतिरै एउटा मूर्ति–गीत लेखेँ । भनिन्छ— कवि–गीतकारहरू लहडी हुन्छन्, भावनामा बत्तिहाल्ने । तर, भगवती मूर्तिको कथानकमा मैले जे कुरा लगातारजसो सुन्दै आएको थिएँ— त्यसमा मैले ‘रे’ को अन्तर्य मात्रै भेटिनँ, अरू धेरै कुरा पाएँ । कतिपय बाहिरी विश्वका यस्तै कथानकमा पनि शासकले कलासृजना र सर्जकमाथि गर्ने गरेको अत्याचार र दमनका कथाहरू लुकेकै हुन्थे, इतिहासमा यस्तै पढिएकै हो । जस्तो, दक्षिण भारतको अजन्तादेखि ताजमहल सृजनासम्मका इतिहासमा यस्तै कथा पढिँदै र सुनिँदै आएको हो ।
अनि मैले लेखेँ— मूर्तिको गीत ः
— तिम्रो सुन्दर रूपमा बस्छु म ।
— यो रूप नै कुरूप भए के गर्छौ ?
— तिम्रो हेर्ने आँखामा बस्छु म ।
— आँखा नदेख्ने भए के गर्छौ ?
— मनको आँखाले हेर्छु म ।
— मनै ढुंगा भए के गर्छौ ?
— त्यही ढुंगामा तिम्रो मूर्ति कुँदेर,
तिमीलाई सम्झी माया गर्छु म,
माया गर्दै बाँच्छु म ।
गीत लेख्दाको सुरुआतमा त्यो ‘बाँच्छु’ भन्ने शब्द थिएन, बरु ‘मर्छु’ भन्ने मात्रै थियो । तर, यो मर्ने र बाँच्ने शब्दावली आएपछि अनायास म रोएको थिएँ, म थामिनै सकेको थिइनँ । त्यही भएर यसलाई ‘मायाँ गर्दै बाँच्छु म’ बनाएको थिएँ ।
...
एक बसाइमा लेखिएको अलि लामो गीत थियो यो, यसमा लय पनि सहजै आयो— भगवतीकै आशीर्वाद रहेझैं । गीत तयार हुनासाथै सीमित आफन्त श्रोतामाझ पहिलोपटक इलाम घरमा यो गीत सुनाएको थिएँ— लगभग १५ वर्षअघि । गीत सुन्नेहरू गीतभित्रको कथा र संवेदना सम्झेर अचम्मित भएका थिए, पछि काँकडभिट्टाको साहित्य महोत्सवमा पनि यो गीत सुनाएपछि केही मर्मज्ञ श्रोतागणले गीतको भावभूमिबारे निरन्तर सोधिरहेकै हुन्थे ।
केही वर्षसम्म यो गीतको गायकी र लयमा परिमार्जन गरेपछि मैले गायिका झुमा लिम्बूसँग मिलेर यसमा स्वर भरेको थिएँ, बल्ल गीत रेकर्डमा आएको थियो । यसरी भन्नुपर्दा यो गीतका शब्द, स्वर वा लयभन्दा पनि यसभित्रको संवेदनाले मलाई सधैं हुँडलिरहेका कारण आज म यसमा पोखिएको हुँ ।
कला र कलाकारका यस्तै मिथकबारे अरूहरूले पनि लेखेका छन् । ‘हाम्रो संस्कृति’ भन्ने पत्रिकामा पनि यसबारे लेखिएको छ । गीतकार यादव खरेलले पनि यो कथा फेसबुकमा हाल्नुभएको रहेछ । पलाञ्चोक क्षेत्रमा यो कथा निकै प्रचलनमा रहेछ । यसका पछाडि यथार्थ कति छ, थाहा भएन । तर, यो सृजना मन–मस्तिष्कलाई संवेदित बनाउने एउटा कथा पक्कै हो, कम्तीमा मेरा लागि ।
यसरी कुनै मिथकभन्दा पनि बारम्बार सुनेको कुरालाई मैले शब्दमा उनेको हुँ । म कुनै दार्शनिक होइन, अथवा व्याख्यातासमेत होइन । यसको व्याख्या गर्न मलाई आउँदैन । मैले एउटा कल्पना गरेँ— यस्तो कल्पना आयो कि मैले थामिनै नसकेर लेखेँ । साँच्चै मैले रुँदै लेखेको हुँ यो गीत । यो गीतको शब्द र भावको संवेदनामा मेरी श्रीमती नीरा पनि भावुक हुन्थिन्, गीत गाइरहँदा नजिकै बसिरहेकी उनी के–के न बितेझैं गरी भान्सातिर लाग्थिन् । म आज सम्झिरहेको छु ।
यो गीतको कथानक सम्झेर र बुझेर इटहरीका प्रतिभा सम्पन्न कलाकार सोनु जयन्तीले एउटा गीति–नाटक नै बनाएका रहेछन् । कलालय नाटकको मञ्चमा यो थुप्रैपटक प्रदर्शनीमा आइसकेको मैले थाहा पाएँ । तर, आफैंले हेर्न भने पाएको छैन ।
यसरी कहिलेकाहीँ हठात उब्जिएको एकखालको क्षणिक भावना र स्वैरकल्पनाले निकै अप्ठ्यारो परिस्थिति जन्माइदिने रहेछ, एउटा लहड पनि यति ‘विचारणीय’ बन्ने रहेछ कि मैले सोचेकै थिइनँ । धेरै वर्षअघि नक्साल भगवतीका डेरा–घरमा छँदै यो गीतको रचनागर्भमा जोडिएकी मेरी श्रीमती नीरा आज यो जगत्मै रहिनन् । तर, भगवतीको आराधना र कलाकारको सृजनामा पनि नजानेरै आफ्नै जीवनलाई उधिन्ने गरी यो गीत लेखेजस्तो संवेदित मुड–मुद्रामाझ म उभिएको छु । एउटा मूर्तिकारले मूर्तिलाई हेरेर भनेझैं श्रीमती नीराको मूर्तिजस्तो तस्बिर हेरेर नक्साल भगवतीकै सामुमा उभिएर म पनि भनिरहेको छु—
‘तिमीलाई सम्झी माया गर्छु म ।
माया गर्दै जिउँछु म ।’


मूर्तिकार–मूर्ति संवाद
मूर्तिकार ः तिम्रो सुन्दर रूपमा बस्छु म ।
मूर्ति ः यो रूप नै कुरूप भए के गर्छौ ?
मूर्तिकार ः तिम्रो हेर्ने आँखामा बस्छु म ।
मूर्ति ः आँखा नदेख्ने भए के गर्छौ ?
मूर्तिकार ः मनको आँखाले हेर्छु म ।
मूर्ति ः मनै ढुंगा भए के गर्छौ ?
मूर्तिकार ः त्यही ढुंगामा तिम्रो मूर्ति कुँदेर
तिमीलाई सम्झी माया गर्छु म ।
माया गर्दै जिउँछु म ।

मूर्तिकार ः भोलि तिम्रो मूर्ति देखेर
कतिले देवी सम्झनेछन् ।
आस्था र भक्ति भावले
प्रेमले पूजा गर्नेछन् ।
हजारौं हजार वर्ष पनि
तिम्रो र मेरो प्रेमको कथा
निर्जीव निर्जीव यही मूर्तिमा
सजीव भएर बाँच्नेछ ।

मूर्तिकार ः तिम्रो सुन्दर मूर्तिमा कुदिन्छु म ।
मूर्ति ः हातै काटे के गर्छौ ?
मूर्तिकार ः अर्को हातले बनाउँछु म ।
मूर्ति ः दुवै हात काटे के गर्छौ ?
मूर्तिकार ः खुट्टाले अर्को बनाउँछु म ।
मूर्ति ः खुट्टै काटे के गर्छौ ?
मूर्तिकार ः बाँकी यही मुटु छ ।
यही मुटुभित्र तिमीलाई राख्छु म ।
तिम्रो ढुकढुकी भएर बाँच्छु म ।

मूर्ति ः तिम्रो हातखुट्टा काट्ने हातहरूले
मेरो मुटुको ढुकढुकी रोक्नेछ ।
ढुकढुकी रोके, भन के गर्छौ ?
मूर्तिकार ः त्यही दिनबाट निर्दयी ती हातहरू नै
आफ्तो चिता आफैं बन्नेछ ।
त्यही चितामा आफूले आफूलाई सल्काएर
खरानी भई नदीमा मिल्नेछ ।
सुन, सुन, सुन, सुन...!

एकल संवाद—
जब जब म पलाञ्चोक भगवतीको दर्शन गर्न पुग्छु
जब जब म शोभा भगवतीको दर्शन गर्न पुग्छु
तब तब म तिनै महान् कलाकारको काटिएको दुवै हात सम्झँदै
आफ्नो दुवै हात जोडेर प्रणाम गर्दछु ।
जब जब म नक्साल भगवतीको दर्शन गर्न पुग्दछु
तबतब म तिनै महान् कलाकारको काटिएको दुवै खुट्टा सम्झँदै
उनको पाउमा श्रद्धाले शिर झुकाउँछु ।

कोसेली

आमासँग एकालाप

- भीम कार्की

सम्झिन्छु,
पिँढीमा राखिएको खाटमा बसेर
दिनभरि जिन्दगीको एक धरो धागो समातेर
पारि डाँडाको बुद्धको मूर्ति हेर्थिन्
र, त्यसैत्यसै खुसी हुन्थिन् मेरी आमा ।

कंशले देवकी र वासुदेवलाई बन्दी बनाएझैं
समयको जञ्जिरले
मलाई कक्रक्क जकडेका बेला
मेरा कानहरुबाहेक
सारा ज्यान शिथिल भएका बेला
ज–जसले जे खबर सुनाए,
लल्याकलुलुक भएर लाचारीका साथ सुन्नुबाहेक
मैले केही गर्न सकिनँ,
अरु त के कुरा, मैले भन्न चाहेर पनि,
उनीहरुलाई ‘झुठो खबर सुनाउने
तिमीहरु ढाँट हौ’ भन्न सकिनँ ।

मेरो मनमा
मेरी आमा अहिले पनि
उज्यालो नहुँदै जागा हुन्छिन्
र, जगत्लाई ब्युँझाउँछिन्–
‘उठ ए उठ, घाम डाँडामाथि आइसके
बेंसीखेत र पाखाबारी रोप्न जानु पर्दैन ?
भकारो सोहोर्‍यौ, पैह्राको काभ्रो झार्‍यौ ?’

याद आउँछ– एउटै विषयमा दिनमा
तीनचोटि हाँस्थिन् आमा,
र, चौथोचोटि ‘ए अघि नै यही कुरामा हाँसेको,
फेरि हाँसेछु’ भन्ने सम्झेर
फेरि मुसुक्क हाँस्थिन् ।

वर्तमान र आगतले होइन
विगतले धेरै आनन्द ल्याउँथ्यो आमाको मुहारमा
उनको आँखाको झ्यालबाट हाम्फालेको मुस्कान
जब मेरो संसारमा ओर्लिन्थ्यो,
ठ्याक्कै मैले कल्पना गरेजस्तै
अलौकिक देखिन्थ्यो मेरो संसार ।

कुनै दिन त मेरा खुट्टा तङ्ग्रिनेछन्,
कुनै दिन त मैले बाटो पहिल्याउनेछु
र, तिमीसम्म आइपुग्नेछु,
तिमीलाई मन पर्ने स्वादको
एक पोका पिपरमिन्ट लिएर
म त्यै पिँढीको खाटमा बसिरहेकी
तिम्रो चरणमा टाउको बिसाउन आइपुग्नेछु,
अनि तिमि,
बाले लाहुरबाट ल्याइदिएको
बुलाकीको कथा सुनाउली,
म हाम्रो भैंसी मल्लाते वनको भीरबाट खस्दा
गाउँलेहरुसँग मिलेर मामाले
काँध हालेर निकालेका दिनको
खुसीबारे सोधौंला ।

म नआउन्जेल
आमा, त्यही पारि डाँडाको
बुद्धमूर्ति हेर्दै मलाई कुरेर बस्नू है ⁄

कोसेली

एउटा ओस्सिएको बारुद

- सुशील पौडेल

 

रोहित सेट्टी फिल्म बनाउँदैनन् । उनी सिन क्रिएट गर्छन् । हिरोको स्टाइलिस इन्ट्री, कमेडी पन्चदेखि एक्सन–डान्स कोरियोग्राफीमा उनी जति तड्का लगाउँछन्, कथा–पटकथाबारे धेरै सोच्दैनन् । त्यसैले त उनी गतिलो फिल्म बनाएर भन्दा फिल्ममा कतिवटा कारलाई बमले हावामा उडाए वा एक्सन सिनमा के नयाँ ल्याए भन्नेमा बढी चिनिन्छन् । सेट्टी खासगरी निर्देशकभन्दा दृश्य संयोजक हुन् । मन खाएका दृश्य तानतुन पारेर फिल्म तयार पारिदिन्छन् । उनी फिल्मका यस्ता कुक
हुन्, जो हरेक खानामा हाल्नका लागि अजिनामोटो पकेटमै लिएर बसेका हुन्छन् । उनका फिल्म मसलेदार हुन्, हेरुन्जेल सिट्टी मार्‍यो, ताली पड्कायो, सकियो ।
निर्देशकमाथि यति निर्मम भइसकेपछि उनैको पछिल्लो फिल्म ‘सूर्यवंशी’ को समीक्षा गर्नु समीक्षकले स्वयंलाई गरेको व्यंग्य ठहरिन सक्छ । तर, समीक्षा नगर्नु पनि अन्याय नै हो । कोरोना कहरका कारण दुई वर्षदेखि मृतप्रायः फिल्म क्षेत्रका लागि सञ्जीवनी बुटी बनेर भारतदेखि नेपालका थिएटरसम्म जो आयो । दर्शक उर्लिएर हल पुगे, बक्सअफिसमा धेरैपछि रिलिजको केही दिनमै सय करोडमाथिको कलेक्सन गरेर ‘सूर्यवंशी’ ले निर्मातालाई पुलकित पार्‍यो ।
‘सूर्यवंशी’ को कथा पनि निर्देशक सेट्टीकै हो । पटकथामा ढालिदिए, युनुस साजवालले । सन् १९९३ मा भारतको मुम्बईमा भएको शृंखलाबद्ध कारबम हमलालाई पृष्ठभूमिमा राखेर फिल्म त्यसको १३ वर्षपछिको समयमा बग्छ । मुम्बईमा ब्लास्ट गर्ने सोही आतंककारी समूह ‘लस्कर’ पुनः त्यस्तै प्रकृतिको आक्रमण गर्दै छ भन्ने सुइँको प्रहरीले पाउँछ । पहिलो आक्रमणकै बेला लस्करले मुम्बई ल्याइएको एक हजार किलो आरडीएक्समध्ये छ सय किलो प्रयोगमा नआएको र भारतमै कतै लुकाएर राखिएको सूचना मुम्बई पुलिसले पाउँछ । आतंककारी समात्ने, आरडीएक्स खोज्नेदेखि आक्रमण योजना विफल पार्ने सारा कामको जिम्मा पाउँछन्, एन्टी टेरोरिज्म स्क्वायडका मुम्बई प्रमुख डीसीपी वीर सूर्यवंशी
(अक्षयकुमार) ले । उनको भूमिका यतिमै सीमित छैन, पत्नी डा. रिया (कट्रिना कैफ) र छोरा आर्यनको देखभालदेखि बन्दा–नबन्दै भत्कन लागेको आफ्नै घर पनि सम्हाल्नु छ । पेसालाई शिरोपर ठान्ने परिवारप्रति सूर्याको कम चासो र उनैको लापरवाहीले आतंककारीको गोली लागेर छोरा बालबाल बाँचेपछि तर्सिएर अस्ट्रेलिया जान खोज्दै छिन््, रिया । सूर्यालाई अब देश र परिवार जोगाउन पनि लस्कर सिध्याउनु छ ।
लस्कर प्रमुख ओमार हाफिज (जैकी स्राफ) पाकिस्तानमा लुकेर ‘भारतलाई देखाइदिन’ फेरि मुम्बई ब्लास्टको योजना बुन्छन् । मुम्बई बम ब्लास्टका मास्टर माइन्ड बिलाल (कुमुद मिश्रा) स्लिपर सेलमार्फत फेरि एक पटक धमाका
गर्न मुम्बई छिर्छन् । भारतमै धर्मभीरुको
छद्मभेषमा बसेका लस्करकै कादर उस्मानी (गुल्सन ग्रोबर) को सहयोग लिन्छन् । अनि सुरु हुन्छ, फिल्ममा निर्देशक सेट्टीमार्काका दृश्य एकपछि अर्को– ट्याक्सी ड्राइभरलाई पक्रिन हिरोको हेलिकप्टर चेजदेखि बमको धमाकामा हावामा उडेका कारसम्म ।
रोहित सेट्टीले सन् २०१८ मै आफ्नै फिल्म ‘सिम्बा’ मार्फत मुख्य चरित्रसहित सूर्यवंशीको हल्ला सुरु गरिसकेका थिए । त्यसो त उनले पहिल्यै ‘सिंघम’, ‘सिंघम रिटर्न्स’ र ‘सिम्बा’ बाटै कप युनिभर्स बनाइसकेका थिए । यसपालि ‘सूर्यवंशी’ मा कप युनिभर्सकै हिरोहरू अजय देवगण र रणवीर सिंहलाई पनि इन्ट्री गराएर फिल्मलाई आफ्ना फ्यानमाझ बहुप्रतीक्षित बनाइसकेका थिए । प्रतिफल फिल्मको ओपनिङ जबरदस्त पनि रह्यो । दुर्भाग्य, वाहवाही ‘सिंघम’ र ‘सिम्बा’ जति पनि पाएनन् ।
पूरा फिल्ममा इस्लामोफोबिया हावी छ । मुसलमानप्रति फिल्म जति डराएको छ, त्योभन्दा बढी उक्त समुदायप्रति दर्शकलाई अनावश्यक घृणा पैदा गर्न समय खर्चिएको छ । टोपी लगाउने, प्रार्थना गर्ने र लामो दाह्री पाल्ने मुसलमानलाई घुमाउरोसँग आतंककारीको बिल्ला भिडाउन फिल्मले खुब कसरत गरेको छ । त्यसविपरीत सफाचट, भारतको वफादार निवृत्त प्रहरी नइम खानजस्ता मुसलमानलाई असल चरितार्थ गरेको छ । कुनै एक समुदायलाई थ्रेटका रूपमा परिभाषित गरेर गुजारा चलाउने ‘सूर्यवंशी’ जस्ता फिल्म खासमा बलिउडका लागि थ्रेट हुन् ।
‘सूर्यवंशी’ मा टर्न एन्ड ट्वीस्ट खास छैन । हुन त तपाईं रोहित सेट्टीका फिल्मको
फ्यान हुनुहुन्छ भने तिनमा कथा, पटकथा खोज्दै खोज्नुहुन्न, भन्नै पर्दैन ।
त्यसो त फिल्मले केही राष्ट्रवादका मसला पनि हालेको छ । मान्छे मार्ने लाइसेन्स पाएका सेट्टीका हिरोवाला पुलिसले बोल्ने देशभक्तिका संवाद, मुसलमान हिन्दु भाइभाइवाला फिलिङ्स दिने केही क्लिशे दृश्य अनि ९० को दशकका हिट नम्बरलाई रि–क्रियट गरेर राखिएका गीतमा हिरोइनको ग्ल्यामर डान्समार्फत पनि फिल्मले भरथेग गर्न खोजेको छ । सुक्खा मनोरञ्जन खोज्ने दर्शकका लागि यो ‘वाह’ लाग्न सक्छ । नत्र साढे दुई घण्टा लामो ‘सूयंवशी’ अझै लामो लाग्नेछ । फस्ट हाफसम्मको स्क्रिनप्ले स्लो छ । क्लाइमेक्सअघि नै डुबिसकेको फिल्मको उद्धारमा निर्देशकले रणवीर र अजयलाई पठाएर अक्षयसँगै डुबाइदिएका छन् । त्रिमूर्ति भएर बन्दुक
पड्काउनबाहेक उनीहरूको उल्लेख्य भूमिका छैन ।
रोहित सेट्टीले दिवाली उत्सवमा ठूलै धमाका दिने सुरले ल्याएको ठूलै पटाका थियो– सूर्यवंशी । तर, त्यसको बारुद कति ओस्सिएको रहेछ हलमा झोसिएपछि नै खुल्यो, परिणाम फिस्स ।


सूर्यवंशी
निर्देशक ः रोहित सेट्टी
कलाकार ः अक्षयकुमार, कट्रिना
कैफ, अजय देवगण, रणवीर सिंह, कुमुद मिश्रा, गुल्सन ग्रोबर आदि