You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

सत्ता जोगाउन मनपरी मन्त्रालय विभाजन

दुईवटा सरकारी प्रतिवेदनले प्रदेशमा सात मुख्यमन्त्रीसहित बढीमा ४९ मात्र मन्त्री राख्न सुझाए पनि मन्त्रीको संख्या ८७
अझै बढाउने तयारीमा मुख्यमन्त्रीहरु
- मातृका दाहाल

प्रशासनिक पुनःसंरचना र सार्वजनिक खर्च पुनरावलोकनसम्बन्धी दुई छुट्टाछुट्टै आयोगका प्रतिवेदनविपरीत प्रदेशहरूमा धमाधम मन्त्रालय फुटाइएको छ । केही प्रदेशमा सरकार टिकाउन र मन्त्रालय फुटाएर भागबन्डा मिलाउन मुख्यमन्त्रीले आन्तरिक छलफल गरिरहेका छन् ।
संविधानमा संघमा २५ जनासम्म र प्रदेशमा प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म मन्त्री राख्न सकिने व्यवस्था छ । तर, प्रशासनविज्ञ काशीराज दाहालको अध्यक्षतामा गठित ‘अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समिति’ र अर्थशास्त्री डिल्लीराज खनाल अध्यक्ष रहेको ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग’ ले प्रदेशमा सातवटा मात्रै मन्त्रालय कायम गर्न सुझाव दिएका थिए ।
दुवै सुझावलाई संघीय मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको थियो । प्रतिवेदनअनुसार सातवटै प्रदेशमा गरी सात मुख्यमन्त्रीसहित मन्त्रालय संख्या ४९ मात्रै हुनुपर्ने थियो । संविधानमा संघमा २५ र प्रदेशसभामा सदस्यको २० प्रतिशतसम्म मन्त्री राख्न पाइने भनी गरिएको किटानी व्यवस्था ‘त्रुटिपूर्ण’ भन्दै त्यसलाई हटाएर आर्थिक क्षमता सुहाउँदो राख्नुपर्ने प्रशासन र कानुनविद्हरूको माग छ । संविधानको धारा १६८ को उपधारा ९ मा कुल प्रदेशसभाको २० प्रतिशत नबढ्ने गरी मन्त्री संख्या निर्धारण गर्न सकिने प्रावधान छ । त्यसैलाई टेकेर मुख्यमन्त्रीहरूले अनुकूल हुने गरी मन्त्रालय संख्या बढाएका हुन् ।
सरकारी प्रतिवेदनले भने संविधानको उक्त व्यवस्था हटाउन सुझाएका छन् । मन्त्रालय फुटाउँदा सिधा असर राज्यको ढुकुटीमा पर्न जान्छ । आयोग र समितिले दिएका सिफारिस पालना नहुँदा प्रदेशमा मन्त्रीको संख्या ८७ पुगिसकेको छ । भागबन्डा मिलाउन अझै संख्या बढाउने तयारीमा मुख्यमन्त्रीहरू छन् । एक प्रशासकका अनुसार एउटा मन्त्रालय बढाउँदा मन्त्रीदेखि सचिव, अन्य कर्मचारी, आवास, सचिवालय, विभाग/कार्यालय, सुरक्षा व्यवस्थापनलगायतमा वार्षिक करिब १ अर्बसम्म खर्च बढ्न सक्छ ।
प्रशासनविद् दाहालले आयोग र समितिका प्रतिवेदनविपरीत मन्त्रालय फुटाउने गलत अभ्यासले आर्थिक अराजकतालाई बल पुगेको बताए । सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष खनालले प्रदेशमा मन्त्रालय फुटाउने गलत अभ्यास रोक्न संघीय संसद्बाटै कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
‘हामीले संघमा १५ र प्रदेशमा ७ मन्त्रालय मात्रै राख्ने गरी सरकारलाई प्रतिवेदन बुझाएका थियौं, संविधानमै मन्त्रालय संख्या तोक्ने त्रुटिपूर्ण प्रावधान सच्याउन पनि भनेका थियौं,’ दाहालले भने, ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बखत प्रतिवेदन २०७४ सालमा मन्त्रिपरिषद्बाट अनुमोदन पनि भएको थियो, त्यसकै आधारमा १८ वटा मन्त्रालय कायम गरियो तर देउवापछि नयाँ जनादेशबाट आएका केपी शर्मा ओलीको सरकारले सुशासन र पारदर्शिता एवं असल शासन कायम गर्ने म्यान्डेटविपरीत १८ मन्त्रालयबाट बढाएर २२ पुर्‍यायो, यो गलत अभ्यास अहिले प्रदेशमा सरेको छ ।’
अर्थशास्त्री खनालले नेता–कार्यकर्ता व्यवस्थापन गर्न सार्वजनिक संरचना थप्नु ढुकुटीको दोहन र आर्थिक अपचलन भएको बताए । ‘एउटा सार्वजनिक संस्था खडा गर्दा राज्यको ढुकुटीमा कति आर्थिक भार पर्छ, यसले सुशासन र वित्तीय अनुशासन कायम गर्न कति जोखिमपूर्ण छ भनेर शासनसत्तामा बस्नेले सोचेनन्, न आयोग/समितिका सुझाव कार्यान्वयन गरे,’ उनले भने । 

‘त्यसकै नतिजा संघदेखि प्रदेश र स्थानीय तहमा वित्तीय अराजकता, भ्रष्टाचार र आर्थिक अपचलन बढेको छ,’ उनले भने । खनाल नेतृत्वको आयोगले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५० हजार निजामती कर्मचारीको दरबन्दी कटौती गर्न सुझाव दिएको थियो । दाहाल नेतृत्वको समितिले पनि मन्त्रालयसहित थुप्रै सार्वजनिक संरचना खारेज र मर्ज गर्न भनेको थियो तर सरकारले दुवै समितिका सुझावलाई अक्षरशः पालना गरेन । पछिल्लो पटक प्रदेश सरकारले भागबन्डा मिलाउन मन्त्रालय फुटाउने र मनोमानी नयाँ सार्वजनिक संरचना खडा गर्ने प्रवृत्ति रोक्न छुट्टै कानुनी व्यवस्था बनाउन आवश्यक रहेको उनले बताए ।
२०७५ फागुन ३ मा खनाल अध्यक्ष रहेको ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग’ ले सरकारलाई प्रतिवेदन बुझाउँदै अनावश्यक खर्च कटौती र सुशासन कायम गर्न सुझाव दिएको थियो । २०७५ भदौ ३ मा तत्कालीन प्रधानमन्त्री ओलीले अर्थशास्त्री खनालको अध्यक्षतामा आयोग गठन गरेका थिए । तर, आयोगको सुझावविपरीत सरकारले नेता–कार्यकर्ता व्यवस्थापन गर्न सार्वजनिक खर्च बढ्ने गरी संरचना बनायो । त्यो प्रवृत्ति अहिले संघमा मात्रै नभएर प्रदेश सरकारमा पनि देखिएको छ । सरकारले २०६६ चैतमा पनि सरकारी बजेट व्यवस्थापन तथा खर्च प्रणाली पुनरावलोकन गर्न नारायणप्रसाद दाहालको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यो आयोगको प्रतिवेदन पनि अक्षरशः पालना भएन । प्रतिवेदनको सुझावविपरीत मन्त्रालय फुटाउने मात्रै होइन, कार्यकर्ता व्यवस्थापनका लागि अरू थुप्रै सार्वजनिक संस्था खडा भए । त्यो प्रवृत्ति अझै कायम छ ।
पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदनमै प्रदेश संरचनामा आर्थिक अपचलन र भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको तथ्यांक सार्वजनिक गरिसकेको छ । तर, सुशासन र आर्थिक मितव्ययिता कायम गर्नुको सट्टा प्रदेशमा मन्त्रालय र मन्त्री संख्या बढाएर आर्थिक रूपमा बोझिलो बनाउन सत्तारूढ दलहरू नै लागिपरेका छन् ।
भागबन्डा मिलाउनकै लागि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालयको संख्या ७ बाट बढाएर १४ पुर्‍याए । प्रदेश १ मा मन्त्रालय संख्या ७ बाट १२ पुर्‍याउने गरी मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्तरिक छलफल अघि बढाएका छन् । प्रदेश २ मा मन्त्रालयको संख्या ७ बाट बढाएर ११ पुर्‍याइएको छ ।
गण्डकी प्रदेशमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै मन्त्रालय टुक््रयाउने गलत अभ्यास सुरु गरेका थिए । उनीपछि मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालीले मन्त्रालय टुक््रयाएर ११ वटा बनाएका छन् । सत्ता टिकाउनकै लागि लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले पनि मन्त्रालय संख्या ७ बाट ९ पुर्‍याए । त्यसपछि मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले १३ मन्त्री र ४ राज्यमन्त्री गरी १७ पुर्‍याएका छन् ।
कर्णाली प्रदेशमा गठबन्धनमा भागबन्डा नमिलेका कारण मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन सकेका छैनन् । कर्णालीमा मन्त्रालय संख्या ७ बाट बढाएर ८ पुर्‍याइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि एमालेभित्र विवाद हुँदा माधवकुमार नेपाल समूहतिर लागेका र माओवादीका गरी चार जनालाई राज्यमन्त्रीमा नियुक्त गरे ।
प्रशासनविज्ञ दाहालले संघ, प्रदेश र स्थानीय तहका एकै प्रकृतिका संरचना मर्ज गरेर एउटै बनाउन आवश्यक भएको बताए । त्यसका लागि संघ सरकारले तत्काल पहल थाल्नुपर्ने उनको भनाइ छ । अर्थशास्त्री खनालले संघीय शासन प्रणाली धान्न सक्ने गरी सार्वजनिक संरचना खारेज र मर्जको नीति लिनुपर्ने बताए । त्यसका लागि अनावश्यक जनशक्ति कटौतीबाटै सुधारको प्रयास थाल्न आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्रालय टुक््रयाउन कार्यदल
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सत्ता टिकाउन मन्त्रालय फुटाएर संख्या बढाउने तयारीमा जुटेका छन् । अहिले सातवटा मन्त्रालयको चालु आर्थिक वर्षको सञ्चालन खर्च ५ अर्ब ७३ करोड ५२ लाख ७७ हजार छ । मुख्यमन्त्री राईले ७ बाट मन्त्रालयको संख्या बढाएर ११ देखि १३ वटासम्म पुर्‍याउने बताएका छन् । प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव किशोर चौधरी सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरिसकेको छ । प्रदेश १ का एक सचिवले चार मन्त्रालय थपिँदा न्यूनतम ३ अर्ब र ६ वटा थपिए करिब ५ अर्ब व्ययभार बढ्ने बताए ।

प्रदेश २ मा गठबन्धनपछि १४ मन्त्री
प्रदेश २ मा सुरुमा जनता समाजवादी पार्टीको एकल नेतृत्वमा ७ सदस्यीय मन्त्रिपरिषद् थियो । तर, आन्तरिक किचलो र केन्द्रमा केपी शर्मा ओलीको सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर सिर्जित विवादले जसपा विभाजित भयो । त्यसपछि कांग्रेस, माओवादी र नेकपा एस सरकारमा आएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर ११ पुर्‍याए । जसपा फुटेपछि महन्थ ठाकुर समूह सरकारबाट बाहिरियो । गठबन्धनमा आबद्ध दलहरूलाई भित्र्याउन मन्त्रालय फुटाइएको थियो । ११ मन्त्रीबाहेक अरू थप ३ राज्यमन्त्री नियुक्त गर्दा आर्थिक भार बढेको छ ।

भागबन्डा पुर्‍याउन १४ मन्त्रालय
वाग्मती प्रदेशमा तीन जना मुख्यमन्त्री भइसकेका छन्– डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे । एमाले नेता पौडेलले करिब ४२ महिना र शाक्यले ७१ दिन सरकारको नेतृत्व गरे । कात्तिक ११ मा शाक्य हटेपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादी वाग्मती प्रदेश सरकारमा छन् । शाक्यले सामाजिक विकास मन्त्रालय विभाजन गरेर स्वास्थ्य मन्त्रालय थपेकी थिइन् । उनले ८ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी थिइन् । पाण्डे मुख्यमन्त्री भएयता डेढ महिनामा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भइसकेको छ । उनले मंसिर १५ मा ८ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्‍याए । योसँगै वाग्मतीमा राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद् बनाउने उनको तयारी छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले संविधानको दायराभित्रै रहेर मन्त्रीको संख्या निर्धारण गरिने दाबी गरे । ‘ठूलो मन्त्रालय हँॅदा काम गर्न समस्या भयो, त्यसैले विभाजन गरिएको हो ।’

गण्डकीमा भागबन्डा मिलाउन सकस
माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि वैशाखमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा पर्‍यो । सरकार जोगाउन उनले सात सदस्यीय मन्त्रिपरिषद्लाई ८ पुर्‍याउँदै स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुदमन्त्री बनाए । गुरुङ त्यतिमै रोकिएनन् । सरकार टिकाउन जेठ ५ मा तीन मन्त्रालय टुक््रयाएर ११ पुर्‍याए । जेठ २९ मा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा गठबन्धन सरकार बन्यो । माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद मनाङेको समर्थनमा उनी मुख्यमन्त्री बने । पोखरेल आएपछि अहिले गण्डकी सरकारमा मन्त्रीको संख्या १२ पुगेको छ । भागबन्डा मिलाउन अझै एउटा मन्त्रालय टुक््रयाउने सम्भावना रहेको एक नेताले बताए ।

लुम्बिनीमा जम्बो मन्त्रिपरिषद्
गठबन्धन दलहरूबीच भागबन्डा मिलाउनकै लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सात प्रदेशमध्ये सबैभन्दा जम्बो मन्त्रिपरिषद् बनाएका छन् । लुम्बिनीमा मात्रै १३ मन्त्री र ४ राज्यमन्त्री बनाइएको छ । २०७८ वैशाखमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले ७ बाट मन्त्रालय संख्या ९ पुर्‍याए । साउन २८ मा पोखरेल हटेर केसी मुख्यमन्त्री भएपछि माओवादी, कांग्रेस र एकीकृत समाजवादीसहितको संयुक्त सरकार बन्यो । त्यसपछि उनले जम्बो मन्त्रिपरिषद्मार्फत सरकारमा गठबन्धनका नेताको व्यवस्थापन गरेका हुन् । लुम्बिनीका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेशका कुनै पनि एउटा मन्त्रालय टुक्रिएर अर्को मन्त्रालय नबनेको जिकिर गरे । ‘सबै मन्त्रालयबाट केही कार्यक्रम निकालेर अर्कोमा जोडिएको छ,’ उनले भने ।

कर्णालीमा हानथाप
कर्णाली प्रदेशमा तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ वैशाख २९ मा मन्त्रालय फुटाएर ७ बाट ८ पुर्‍याएका थिए । एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि शाहीले एमालेको तत्कालीन माधव नेपाल समूह र कांग्रेसको समर्थनमा मन्त्रिपरिषद् पुनर्गठन गरे । शाहीले गत कात्तिक १५ मा राजीनामा दिएपछि कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सरकार रहेकामा भागबन्डा नमिलेकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । माओवादीले चार मन्त्रालय मागेको छ । एकीकृत समाजवादीले ३ र कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्रालय आफूले पाउनुपर्ने दाबी छाडेको छैन । मन्त्रालय टुक््रयाएर वा राज्यमन्त्री थपेर भागबन्डा मिलाउन मुख्यमन्त्री शाही लागिपरेका छन् ।

सुदूरपश्चिममा सांसद टिकाउन मन्त्री
सुदूरपश्चिम प्रदेशमा २०७४ फागुन ५ मा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् बन्यो । २०७७ पुस २२ सम्म मन्त्रीको संख्या बढाइएन तर जब साविक एमालेका केपी ओली र माधवकुमार नेपाल पक्षका सांसदबीच विवाद देखियो, त्यसपछि दुवै नेताले आफ्नो कित्तामा सांसद तान्न बार्गेनिङ गरे । एमालेबाट अलग भई नेपालले छुट्टै पार्टी गठन गरेसँगै सांसदलाई मन्त्रीको अफर दिइयो । त्यसपछि मुख्यमन्त्री भट्टले नेकपा एसका तीन र माओवादीका एक जनालाई राज्यमन्त्री बनाएर मन्त्रिपरिषद् ११ सदस्यीय बनाए । सुदूरपश्चिममा माओवादी र नेकपा एसको संयुक्त सरकार छ ।

देवनारायण साह (मोरङ), अजित तिवारी (जनकपुर), सुवास बिडारी (हेटौंडा), दीपक परियार (पोखरा),घनश्याम गौतम (बुटवल), कृष्णप्रसाद गौतम (सुर्खेत) र अर्जुन शाह (धनगढी)

मुख्य पृष्ठ

कोभिडजन्य संक्रामक फोहोर बिक्री

सरकारले कोभिडजन्य फोहोर बिक्रीमा पूर्ण रोक लगाएको छ तर अधिकांश ठूला अस्पतालले आम्दानी स्रोत भन्दै संक्रमण फैलाउन सक्ने यस्ता फोहोर बेचिरहेका छन्
- प्रशान्त माली

राष्ट्रिय ट्रमा सेन्टरमा थुपारिएको सिरिन्जलगायत कोभिडजन्य फोहोर । तस्बिर : प्रशान्त माली/कान्तिपुर 

सिरिन्जले पाँचवटा ठूला बाल्टिन भरिएका छन् । ब्लड ब्याग, ग्लोब्स, मास्क, गज, कपासजस्ता कोभिड वार्डबाट संकलित फोहोर प्लास्टिकमा थन्क्याइएको छ । भाइलहरू बोरामा कोचिएका छन् भने केमिकल जथाभावी राखिएको छ ।
यो दृश्य राष्ट्रिय ट्रमा सेन्टरको हो, जहाँ वीर अस्पतालले कोभिडजन्य फोहोरमैला व्यवस्थापन गर्दै आइरहेको छ । वीरमा कोभिड संक्रमित फोहोर व्यवस्थापन गर्न आधुनिक ‘माइक्रोओभन’ जस्ता प्रविधि छैनन् । फोहोर निर्मलीकरण गर्ने दुइटा ‘अटोक्लेभ’ मेसिनमध्ये एउटा तीन महिनादेखि थन्किएको छ । अर्को बेलाबेला बिग्रिइरहन्छ । अमेरिकी सहयोग नियोग (यूएसएड) ले दिएको नयाँ मेसिन पनि तीन महिनादेखि जडान गरिएको छैन । ट्रमा सेन्टरकै सिरिन्ज पनि दुइटा ड्रममा भरिइसकेका छन् । यहाँको अटोक्लेभ सातायता बिग्रिएको छ ।
पाटन अस्पतालमा चारवटा अटोक्लेभ मेसिनमध्ये दुइटा वर्षौंदेखि बिग्रिएका छन् । नयाँ खरिद गरेको दुईमध्ये एउटा दुई महिनादेखि मर्मत हुन सकेको छैन । कोभिड र ननकोभिड वार्डबाट संकलित फोहोर एकै ठाउँमा मिसाइएको छ । पाटन र टेकुको सहिद शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालले सुईबाहेक ग्लोब्स, भाइललगायत अन्य कोभिडजन्य फोहोर बिक्रीमा पठाउने गरेका छन् । थापाथलीको प्रसूति गृहले पनि कोभिडजन्य फोहोर बिक्रीमा पठाइरहेको छ ।
नयाँ बानेश्वरको सिभिल अस्पतालले कोरोनाविरुद्धको खोपको भाइल र सिरिन्ज माइक्रोओभनमार्फत व्यवस्थापन गर्छ । तर, कोभिड वार्डबाट निस्केको स्लाइन पाइप, गज, कपास, पानीका बोतल, औषधिका बट्टा भने केमिकल प्रयोगको भरमा सिधै विक्रेतालाई पठाउने गरिएको छ । सिभिलमा कीटाणु नष्ट गर्ने अटोक्लेभ मेसिन छैन । माइक्रोओभनले फोहोर स–साना टुक्रा बनाउने भएकाले पुनः प्रयोग गर्न मिल्दैन । महाराजगन्जको त्रिवि शिक्षण अस्पतालले भने कोभिड फोहोर बिक्रीमा रोक लगाएको छ ।
सरकारले स्वास्थ्य संस्थालाई कोभिडजन्य फोहोरमैला बिक्रीवितरणमा पूर्ण रूपमा रोक लगाएको छ । ल्यान्डफिल साइट पुगेका नकुहिने फोहोरसमेत पुनः प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । तर, अधिकांश ठूला अस्पतालले आम्दानी स्रोत भन्दै कोभिडजन्य फोहोरसमेत बिक्री गर्ने गरेका छन् । ‘कोभिड–१९ महामारी आपत्कालीन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशिका–२०७७’ को दफा ५ ले त कोभिडजन्य फोहोरमैला पुनः प्रयोगमा नै बन्देज लगाएको छ । फोहोरबाट कोभिड संक्रमण हुन सक्छ/सक्दैन भन्ने ठोस प्रमाण नभेटिए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितबाट निस्कने फोहोरलाई संक्रामक मानेको छ । जथाभावी विसर्जन गरी खुला छाडेमा अर्को महामारी फैलाउन सक्ने डब्लूएचओको निर्देशिकामा उल्लेख छ । शुक्रराज अस्पताल टेकुकी फोहोरमैला/आईसीयू इन्चार्ज उषा देवकोटा र प्रसूति गृहकी भवानी खड्काले केमिकल राखेर २४ घण्टापछि अटोक्लेभ गरेपछि कीटाणु नष्ट हुने भएकाले बिक्रीमा पठाउन मिल्ने दाबी गरे ।
जनस्वास्थ्यविद् डा.विन्ज्वला श्रेष्ठ सिरिन्जबाट कोभिड मात्र नभई एचआईभी, हेपाटाइटिस, कुष्ठरोग, टाइफाइड, जन्डिसजस्ता रोग पनि सर्ने खतरा रहेको बताउँछिन् । ‘कोभिडजन्य फोहोर ढलमा मिसिएमा हैजा फैलिन सक्छ । केमिकल मिसिएको माटोबाट उब्जनी हुने खाद्यान्नसमेत हानिकारक हुन्छ,’ उनले भनिन्, ‘अस्पतालले मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले पनि अनुगमन गर्नुपर्‍यो ।’
कोभिडजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशिकाअनुसार कोभिड तामामा ४ घण्टा, कपडा तथा काठमा १ दिन, सिसा र फोहोर पानीमा २ दिन, प्लास्टिक तथा स्टिलमा ४, मेडिकल मास्कको बाहिरी सतहमा ७ दिनसम्म जीवित रहन सक्छ । फोहोर व्यवस्थापनमा लापरबाहीकै कारण गत वर्ष जेठमा संक्रमित फोहोरबाट काठमाडौं महानगरका ३१ जना सफाइकर्मी एकै पटक संक्रमित भएका थिए ।
निर्देशिकाले कोभिड संक्रमित फोहोरको वर्गीकरण ६ किसिमले गर्नुपर्ने औंल्याएको छ । नकुहिने, कुहिने, प्याथालोजिकल (साल, ट्युमर), धारिलो वस्तु, अन्य संक्रामक (कपास, गज, ब्लड ब्यागलगायत) र प्रयोग गरिएका व्यक्तिगत सुरक्षा सामग्री छुट्याउनुपर्छ । जैविक खतरा लेखिएको झोलामा सुरक्षित राख्नुपर्छ । नकुहिने कागज, प्लास्टिक, बोतल, धातु वस्तु अटोक्लेभ गर्नुपर्छ । सुई भने अनिवार्य रूपमा काट्ने मेसिन प्रयोग गरेर अटोक्लेभ वा क्लोरिनको झोलमा डुबाएर खाल्टोमा फाल्नुपर्छ । अति संक्रमित फोहोरमैलाको व्यवस्थापन २४ घण्टाभित्रमा गरिसक्नुपर्छ । फोहोरमैलाको रेकर्डसमेत राख्नुपर्नेमा अधिकांश अस्पतालहरूले त्यसो गर्दैनन् ।
वीरमा दैनिक हजार जनाभन्दा बढीले भ्याक्सिन लगाउने गरेका छन् । फोहोर व्यवस्थापनमा लामो समयदेखि अस्तव्यस्त हुँदा पनि सुधार गर्न न वीर प्रशासनले चासो दियो न स्वास्थ्य मन्त्रालयले नै । वीर अस्पताल प्रमुख भूपेन्द्रकुमार बस्नेतले मेसिन बिग्रिने/मर्मत गर्ने क्रम निरन्तर चलिरहने सामान्य प्रक्रिया रहेको बताए । 

आफूहरूले कोभिडजन्य फोहोर व्यवस्थापन गरिरहेको उनले दाबी गरे पनि अस्पतालको दृश्यमा त्यस्तो देखिन्न ।पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले डब्लूएचओको निर्देशिकाअनुसार नै फोहोर व्यवस्थापन गर्दै आइरहेको दाबी गरे । ‘सुई ठेकेदारले लैजान्छ,’ उनले भने, ‘मेसिन बिग्रिने/मर्मत गर्ने नियमित प्रक्रिया हो ।’ फोहोरमैला व्यवस्थापनसम्बन्धी निर्देशिकामा विभिन्न अध्यनमा राजधानीको मलमूत्रमा समेत कोभिड भाइरसको अंश भेटिएको छ ।
कोभिड महामारीका कारण फोहोरमैला व्यवस्थापन चुनौती थपिएको छ । शंकास्पद, लक्षण देखिएकाबाट उत्पादित फोहोरमैला सुरक्षित किसिमले व्यवस्थापन भइरहेको छैन । क्वारेन्टिन, आइसोलेसन, होल्डिङ क्षेत्र, संक्रमित घरधुरीबाट उत्पादित फोहोर सिधै संकलककहाँ पठाइएको छ । गाउँघरतिर भने वन क्षेत्रमा त्यसै फालिएको छ । संक्रमण बढ्दा फोहोर उत्पादन पनि बढ्छ । फोहोरमैला विशेषज्ञ महेश नकर्मी थोरै फोहोरले पनि संक्रमण फैलिने बताउँछन् । ‘सकेसम्म संक्रमित फोहोरमैला उत्पादन स्रोतमै घटाउनुपर्छ । यसमा स्थानीय तहको भूमिका प्रमुख रहन्छ, बिरामी वा घरधनीले पनि जिम्मेवारी निभाउनुपर्‍यो,’ उनले भने ।
कोभिड फोहोरमैला व्यवस्थापन निर्देशिका अनुसार संक्रमित फोहोर संकलन, ढुवानी तथा व्यवस्थापन छुट्टै गर्नुपर्छ । तर, स्थानीय तहले यसमा बेवास्ता गरेका छन् । काठमाडौं महानगरका प्रवक्ता ईश्वरराज डंगोल भन्छन्, ‘होम आइसेलेसन र क्वारेन्टिनबाट निस्कने फोहोर ७ दिनपछि मात्र उठाउन भनेका छौं । अटोक्लेभ गरिसकेपछि कीटाणु नष्ट हुने भएकाले अस्पतालको फोहोर छुट्टै ढुवानी गर्न आवश्यक छैन ।’
स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीको नेतृत्वमा अनुगमनमा जान निर्देशन दिइसकेको बताए । अधिकारीले भने २५ बेडसम्मको अस्पतालको अनुगमन स्थानीय तहले गर्नुपर्ने र तीन सयभन्दा माथिका बेडको मन्त्रालयले गर्ने तयारीमा रहेको बताए । ‘चाँडै नै अनुगमन गरेर निमय पालना नगर्नेलाई कारबाहीका लागि सिफारिस गरिनेछ,’ उनले भने ।

मुख्य पृष्ठ

सुत्केरीलाई गोठ

बेथा लागेदेखि सुत्केरी भएको दुई–तीन साता त कतिपयले ४५ दिनसम्म छुन मान्दैनन्
- हरि गौतम

सकेसम्म स्वास्थ्य संस्थामा नभए घरमै सुरक्षित सुत्केरी गराउने क्रम बढेको छ । तर, रुकुम पूर्वको एक गाउँमा सुत्केरीलाई अझै पनि गोठमा राख्ने चलन कायमै छ । सिस्ने गाउँपालिका–१ का बासिन्दा अहिले पनि सुत्केरीलाई बस्तुभाउ बाँध्ने गोठमा राख्छन् । व्यथा लागेदेखि सुत्केरी भएको दुई–तीन सातासम्म र कतिपयले ४५ दिनसम्मै सुत्केरीलाई छुन मान्दैनन् ।
गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक सुनिता खड्काले श्रीमान् र सासू–ससुराले नछुने चलनले महिला समस्यामा परेको बताइन् । ‘सुत्केरी भएर रगताम्य भएकी महिला आफैं सालनाल गाडेर फर्किरहेको पनि देख्यौं,’ उनले भनिन्, ‘यसो किन गरेको भन्दा सुत्केरीलाई अरूले छोएपछि देवी–देवता रिसाउँछन् भन्ने जवाफ पाइयो ।’ हरेक वर्ष चेतनामूलक कार्यक्रम गरिरहे पनि व्यवहारमा यस्तो चलन हट्न नसकेको उनले बताइन् ।
अरूसित छुन नमिल्ने भएपछि महिलाहरू स्वास्थ्य चौकी जाँदैनन् । सुत्केरी हुँदाका बेला सबै काम
आफैं गर्छन् । जसका कारण उनीहरूको स्वास्थ्य जोखिममा पर्नुका साथै कतिपयको ज्यानसमेत जाने गरेको छ । अहेव शर्मिला बुढा सुत्केरीलाई नछुने चलन बिस्तारै हट्दै गए पनि पूरै हटाउन समय लाग्ने बताउँछिन् । 

‘गर्भ जाँच गर्न नआउने र घरमै सुत्केरी भएका महिलाका बच्चालाई खोप दिँदैनौं भनेपछि प्रसूतिगृहमा सुत्केरी हुन आउनेको संख्या केही बढ्न थालेको छ,’ उनले भनिन्, ‘कतिपयले त कुरो बुझ्दै बुझ्नुहुन्न ।’ उनीसँग एउटा नमिठो घटना पनि छ । बच्चा पाउनेबित्तिकै बेसरी काँपेकी महिलालाई कसैले सहयोग गर्न सकेनन् । ती महिलाकै आमाले पनि सुत्केरी छुनुहुन्न भनेपछि श्रीमान्ले समेत केही गर्न पाएनन् र उनको मृत्यु भयो ।
‘सुत्केरी भएपछि गोठमा बस्नुपर्ने दिदीबहिनी अहिले पनि हुनुहुन्छ,’ स्थानीय कमला बुढाले भनिन्, ‘पहिला–पहिला त सुत्केरी व्यथा लागेका कसैलाई कसैले छुन मान्दैन थिए, पछिल्लो समय केहीले छुन थाले पनि केहीले सुत्केरी व्यथा लागेपछि सुत्केरी भएको लामो समयसम्म छुँदैनन् ।’ व्यथा लागेका महिलाका श्रीमान्, आमा, छोराछोरीसमेतले नछुने गरेको उनले बताइन् ।
अरूले छुन नमिल्ने मान्यताका कारण महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्था जान मान्दैनन् । बुझ्ने खालका घर–परिवारकाहरू भने भट्टेचौरमा रहेको स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गरेका छन् । ‘केही समस्या भइहाल्यो भने बोलाउनुहुन्छ, घरमा पुग्दा गोबरमा लतपतिएको बच्चा सफा गर्नुपर्ने अवस्था छ,’ अनमी राधिका केसीले भनिन्, ‘धेरैलाई पुरानो सोचले छाडेको छैन । यसको असर सुत्केरी व्यथा लागेकी र सुत्केरी भएकी महिलालाई परेको छ ।’ उपचारका लागि पुग्दा भर्खरकी सुत्केरी र नवजात शिशुलाई गाईगोठमा राखेको आफूले भेटाउने गरेको उनको भनाइ छ । कहिलेकाहीँ गाउँमा हुने तालिम गोष्ठीमा महिलाहरू यस्ता कुरा व्यक्त गर्दैनन् । गाउँको इज्जत जान्छ भन्ने अन्धविश्वासमा परी उनीहरू चुप रहँदा सुत्केरी र बच्चाको ज्यान नै जोखिमा परिरहेको छ ।
यहाँको स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन थालिएको एक वर्ष पूरा भएको छ । यस अवधिमा यहाँ आएर ५८ जना सुत्केरी भएका छन् । गाउँपालिकाले छोरी खाता कार्यक्रम पनि लागू गरेको छ । गर्भ जाँच भएको र प्रसूति गृहमा जन्मेका छोरीको खाता खोलेर गाउँपालिका आफैंले नगद ५ हजार जम्मा गरिदिन्छ । यस्ता कार्यक्रमले पनि केही सुधार ल्याएको अहेब बुढाले बताइन् ।

Page 2
समाचार

पुराना गुट भत्किएपछि ‘नयाँ कांग्रेस’

कांग्रेसको १४ औं महाधिवेशनपछि पुराना समूहको अवस्था के हुन्छ भन्ने बहस सुरू भएको छ, महाधिवेशनपछि उदाएका नयाँ समूहको विकास कसरी हुन्छ भन्ने विषय पनि उत्तिकै प्रतीक्षित छ
- कलेन्द्र सेजुवाल

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिर २४ मा महाधिवेशन उद्घाटन समारोहमा भनेका थिए, ‘म जहाँ हुन्छु, कांग्रेस त्यहीँ रहनेछ ।’ उनले यसलाई अहंका रूपमा नबुझ्न आग्रह गरेका थिए तर उक्त भनाइभित्र उनले नेतृत्व गरेको समूहको शक्ति लुकेको थियो । महाधिवेशनमा सिटौलाले
आफ्नो समूहको शक्तिका आधारमा सभापति शेरबहादुर देउवालाई दबाबमा राख्दै एक महामन्त्री, एक सहमहामन्त्रीसहित आधा दर्जन केन्द्रीय सदस्यलाई चुनावी समीकरणमा उम्मेदवार बनाएका थिए । उनको समूहबाट महामन्त्री बनेका प्रदीप पौडेलको पराजयपछि पार्टीभित्र सिटौला–शक्तिको लेखाजोखा सुरु हुन थालेको छ ।
सिटौला मात्र होइन, १४ औं महाधिवेशनपछि कांग्रेसमा अन्य पुराना समूहको आगामी अवस्था के हुन्छ भन्ने बहस सुरु भएको छ । महाधिवेशनपछि उदाएका नयाँ समूहको विकास कसरी हुन्छ भन्ने विषय पनि प्रतीक्षित बनेको छ । लामो राजनीतिक जीवनमा कोइराला परिवार (समूह) सँग रहेका रामचन्द्र पौडेल १३ औं महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बने । निर्वाचित हुन नसके पनि देशव्यापी रूपमा ‘पौडेल समूह’ को नाममा गुट निर्माण भयो । यसपटक भने पौडेल न चुनाव लडे न त कुनै उम्मेदवारलाई स्पष्टसँग समर्थन गरे ।
‘रामचन्द्र दाइले यसपटक आफ्नै कारणले आफ्नो नाममा संगठित बनेका साथीहरूलाई निराश बनाउनुभयो,’ उनीनिकट एक नेताले भने, ‘१३ औं महाधिवेशनमा जन्मेको पौडेल समूह १४ औं महाधिवेशनमै संकटमा परेको छ ।’ ती नेताले भनेझैं यसपटक वडा तहदेखि नै देउवा र पौडेल समूहका नाममा कार्यकर्ताबीच प्रतिस्पर्धा भएको थियो । संस्थापनइतर भनेर चिनिने पौडेल समूहभित्र प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाका उपसमूह थिए । निर्वाचनमा शेखर र प्रकाशमानले प्यानलसहित सभापतिमा उम्मेदवारी दिए । केन्द्रीय सदस्य उठेका
शशांकलाई चारवटै प्यानलले आफ्नो सूचीमा राखे ।
कांग्रेसबारे जानकार राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले यसपटकको महाधिवेशनले मूल रूपमा देउवा र कोइराला समूहलाई स्थापित गरेको बताए । ‘जति जना उम्मेदवार बने पनि मतका आधारमा देउवा र शेखर सशक्त देखिएका छन्, अब समूहगत रूपमा यी दुईबीच संघर्ष र सहकार्य हुनेछ,’ उनले भने, ‘पछिल्लो ५–६ वर्षमा बनेका विभिन्न गुट–उपगुटहरू अस्तित्व कसरी जोगाउने भन्ने अवस्थामा पुगेका छन् ।’
कांग्रेसमा कोइराला समूह सबैभन्दा ठूलो र पुरानो समूह हो । बीपीको विरासत जोडिएको उक्त समूहलाई विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिएका थिए । १३ औं महाधिवेशनमा कोइराला परिवार नेतृत्वबाट बाहिरिएपछि उक्त समूहमा मूलनेताको अभाव खड्कियो । शशांक महामन्त्री बने पनि उनी कोइराला समूहको साझा नेता बन्न सकेनन् । शेखर र सुजाता आ–आफ्नै तबरले समूह निर्माणमा अघि बढे । यसपटकको महाधिवेशनमा शेखरले संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिए भने शशांशको उम्मेदवारी केन्द्रीय सदस्यमै सीमित भयो । सुजाताचाहिँ सिंहको समूहबाट उपसभापति उम्मेदवार बनिन् ।
मध्यपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक अर्जुनबहादुर अयडी अब संस्थापनबाहेक समूहको नेतृत्व शेखरले गर्ने सम्भावना औंल्याउँछन् । ‘उहाँले एकैपटक दुईटा (कोइराला र संस्थापनइतर) समूहको नेतृत्व गरेर अघि बढ्ने देखिन्छ, अर्को महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भन्नेचाहिँ समूहका अन्य नेताको आकांक्षामा निर्भर होला,’ उनले भने ।
१४ औं महाधिवेशनमा विमलेन्द्र निधिले फरक समूह निर्माणको प्रयास थालेका छन् । साढे दुई दशकसम्म देउवासँग रहेका उनी सभापतिमा उम्मेदवारी घोषणा गर्दै अलग्गिएका थिए । निर्वाचनमा छुट्टै समूह निर्माण गर्न नसकेका उनले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरी विलय भए । सहप्राध्यापक अयडीको विचारमा अब निधिले संस्थापन वा अन्य कुनै समूहसँग मिलेर आफ्नो टिम विस्तार गर्न सक्छन् ।
प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिएर आफ्नो समूहलाई ठोस आकार दिने प्रयास गरेका छन् । उपसभापतिमा उम्मेदवार बनेकी सुजाता कोइराला र महामन्त्री जितेका विश्वप्रकाश शर्माले भविष्यमा उनलाई कसरी सहयोग गर्छन् भन्ने कुराले पनि सिंह समूहको भविष्य निर्धारण गर्नेछ । देउवा समूहमा रहेका शर्मा र संस्थापनइतर समूहमा रहेकी कोइराला मनोनयन गर्ने दिनमात्र सिंहको समूहमा खुलेका थिए । सिंह समूहबाट उम्मेदवारी दिए पनि शर्माले स्वतन्त्र हैसियतमा उम्मेदवार बनेको भन्दै भोट मागेका थिए ।
महाधिवेशनबाट निर्वाचित हुने १ सय ३४ सदस्यीय कार्यसमितिमा कुन समूहका कति जना पुग्छन् भन्नेले आगामी दिनमा समूहको प्रभाव परीक्षण हुनेछ । सम्पूर्ण नतिजापछि मात्र कांग्रेसको आगामी शक्ति सन्तुलन र समीकरणबारे निर्क्योल हुनेछ । सिंहको समूहबाट शर्मा महामन्त्री निर्वाचित भए पनि उनको समूहबाट अन्य उम्मेदवार केन्द्रीय समितिमा निर्वाचित हुने सम्भावना न्यून छ । निधिले देउवा, कोइराला र सिंह समूहका उम्मेदवारलाई समेटेर प्यानल निर्माण गरेका थिए । उनको ‘खुद’ समूहका उम्मेदवार निर्वाचित हुने सम्भावना पनि निकै न्यून छ । सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार पराजित भए पनि सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन् । उक्त समूहले देउवाको प्यानलबाट महामन्त्री, सहमहामन्त्री र ७ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको थियो । केन्द्रीय सदस्यहरूको परिणाम आइसकेको छैन ।
सिटौलाले देउवासँग मिलेर प्रदेश १ मा आफूपक्षीय उद्धव थापालाई सभापति जिताएका छन् ।
‘निर्वाचन परिणाम हेर्दा अब उनले भनेजस्तो ‘जहाँ सिटौला त्यहाँ कांग्रेस’ हुने अवस्था देखिँदैन,’ एक कांग्रेस नेता भन्छन्, ‘तर सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य जित्दा पार्टीभित्र उनको भूमिका सक्रिय नै रहन सक्छ ।’
विश्लेषक आचार्यका अनुसार आगामी केन्द्रीय समितिमा मूल रूपमा देउवा र कोइराला समूहको वर्चस्व हुनेछ । यद्यपि यसपटक कार्यकर्ताले समूहभन्दा माथि उठेर नेता छानेका कारण कांग्रेस समूहगत अभ्यासमा रुमल्लिने सम्भावना कम देख्छन् ।
‘पहिला पार्टीले नेता बनाउँथ्यो, यसपटक जनताले नेता बनाएर पार्टीलाई दिएका छन्, महाधिवेशनले त्यसलाई अनुमोदन गरेको छ,’ उनले भने, ‘बीपी कोइरालाको समयमा पनि ठीक यसैगरी जनताको बीचमा जन्मेका नेताले पार्टी निर्माण गरेका थिए ।’ शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्माजस्ता नेतालाई पार्टीले भन्दा जनताले नेतृत्वमा स्थापित गरेको उनले बताए । विगतमा कोइराला समूहमा रहेका महेश आचार्य यसपटक कुनै पनि समूहमा लागेनन् । उनले स्वतन्त्र हैसियतमा उपसभापतिमा उम्मेदवारी दिएका थिए । आगामी दिनमा उनले आफ्नै समूह निर्माण गर्छन् कि अन्य कुनै समूहमा मिसिन्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

समाचार

१३ पदाधिकारीमा ११ जना नयाँ

- प्रकाश धौलाकोटी

कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो– नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनाको मुख्य मुद्दा त्यही थियो । महाधिवेशन प्रतिनिधिले पनि परिवर्तनकै पक्षमा मत दिएका छन् । १३ जना पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ अनुहार चुनिएका छन् ।
गत सोमबार भएको निर्वाचनबाट सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ जना निर्वाचित भएका छन् । जसमा पार्टीभित्रका लोकप्रिय नेता धेरै छन् । पदाधिकारीमा देउवाको प्रस्ट बहुमत जुटेको छ तर महत्त्वपूर्ण पदमा उनले आफ्ना उम्मेदवार जिताउन सकेनन् । पदाधिकारीमा सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व छ । देउवा समूहबाट ८ जना निर्वाचित भएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का तथा सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौर, महेन्द्र यादव, फर्मुल्लाह मन्सुर र उमाकान्त चौधरी देउवा समूहका हुन् । सहमहामन्त्री चौधरी देउवा–कृष्णप्रसाद सिटौला समीकरण बन्दा सिटौलाको सिफारिसमा उम्मेदवार भएका हुन् ।
त्यस्तै, सभापतिमा शेखर कोइराला पराजित भए पनि उनको समूहका नेताहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्री भने जितेका छन् । उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे कोइराला समूहबाट निर्वाचित भएका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा भने प्रकाशमान सिंह समूहबाट विजयी भएका हुन् ।
उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । देउवा समूहबाट निर्वाचित भएका खड्का यसअघि महामन्त्री थिए भने कोइराला समूहबाट निर्वाचित भएका गुरुङ यसअघि केन्द्रीय सदस्य मात्रै थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिबाट आएका थापा र शर्माले लोकप्रिय मतसहित महामन्त्री जितेका हुन् । देउवा समूहबाट महामन्त्री नपाएपछि सिंहको साथमा पुगेका शर्माले विद्रोही उम्मेदवारका रूपमा महामन्त्री जितेका हुन् ।
विद्यार्थी राजनीतिमा शर्माले थापालाई अघि बढाएका थिए । थापा त्रिचन्द्र कलेजमा स्ववियु लड्दै गर्दा शर्मा नेविसंघको केन्द्रीय समितिमा आइसकेका थिए । शर्मा २०५७ मा नेविसंघको सभापति हुँदा थापालाई उपसभापति मनोनीत गरेका थिए । २०५९ मा नेविसंघको सभापति गुरुराज घिमिरे भए भने थापा महामन्त्री निर्वाचित भए । पार्टी राजनीतिमा भने थापाको लामो अनुभव छ । झापाका शर्मा १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएर प्रवक्ता भए । थापा १२ औं मा सर्वाधिक मतसहित केन्द्रीय सदस्य, १३ औं मा महामन्त्रीमा पराजित भए र अहिले महामन्त्री निर्वाचित भए । शर्माले संसदीय राजनीतिको अभ्यास गर्न पाएका छैनन् । थापा अहिले तेस्रोपटक सांसद छन् । उनी पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् । महामन्त्रीका रूपमा थापा र शर्माको सहकार्य कस्तो रहला ? त्यो सबैको चासोको विषय छ ।
संशोधित विधानअनुसार पहिलोपटक पदाधिकारीमा समावेशी समूहको प्रतिनिधित्व भएको छ । महिला, दलित, मधेसी, मुस्लिम, थारू, खस आर्य, आदिवासी जनजाति र पिछडिएको क्षेत्र गरी आठ वटा समावेशी समूहबाट एक–एक जना सहमहामन्त्री निर्वाचित भएका छन् । त्यसमध्ये ६ जना देउवा समूहका छन् भने दुई जना कोइराला समूहका नेता छन् ।
मधेसी सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादव निर्वाचित भएका छन् । उनले २ हजार २६ मत प्राप्त गरे । उनका निकटतम प्रत्याशी रामकृष्ण यादवले १ हजार ८ सय २० मत पाए भने अर्का प्रत्याशी रञ्जित कर्णले ४ सय ७२ मत प्राप्त गरे । रामकृष्ण कोइराला समूहका उम्मेदवार हुन् भने कर्ण नेता प्रकाशमान सिंहनिकट उम्मेदवार हुन् । सहमहामन्त्रीमा निर्वाचित यादव यसअघि केन्द्रीय सदस्य थिए ।
दलित सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार निर्वाचित भएका छन् । उनले जम्मा ३७ मतले देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । परियारले २ हजार २ सय १२ मत पाए भने विश्वकर्माले २ हजार १ सय ७५ मत पाए । सिंह समूहकी गंगा सुनारले २ सय ३२ मत पाइन् । नेविसंघ र दलित संघको नेतृत्व गर्दै दुईपटक केन्द्रीय सदस्य भएका सहमहामन्त्री परियार वैचारिक नेता मानिन्छन् । उनी संविधानसभा सदस्यसमेत हुन् ।
आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । उनले अर्का प्रत्याशी विकास लामालाई ७ सय ९८ मतान्तरले पराजित गरे । उनले २ हजार ७ सय ११ मत ल्याउँदा लामाले १ हजार ९ सय १२ मत प्राप्त गरेका हुन् । २०७० मा भएको संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं. २ बाट निर्वाचित आङ्देम्बेले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । महिला सहमहामन्त्रीमा देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी छन् । उनले कोइराला समूहकी कमला पन्तलाई ४ सय २८ मतान्तरले पराजित गरेकी हुन् । उपाध्यायले २ हजार ५ सय ३३ मत पाइन् भने पन्तले २ हजार १ सय ५ मत पाइन् । उपाध्याय यसअघि केन्द्रीय कार्यसमिति सदस्य थिइन् ।
पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै सहमहामन्त्रीमा कोइराला समूहका बद्री पाण्डे निर्वाचित भएका छन् । उनले २ हजार ४ सय ११ मत पाए भने देउवा समूहका उम्मेदवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले २ हजार १ सय ३३ मत पाएका छन् । चेतराज बजालले ९९ मत पाए । नेविसंघको राजनीतिबाट उदाएका पाण्डे १२ औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थिए । उनी राष्ट्रिय सभाका पूर्वसदस्यसमेत हुन् । पार्टीभित्र प्रशिक्षणको सन्दर्भमा देशभर डुलेका पाण्डे युवामाझ लोकप्रिय छन् ।
खस आर्य सहमहामन्त्रीमा देउवा समूहका किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनले कोइराला समूहका देवराज चालिसेलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् । राठौरले २ हजार ५ सय ७६ मत पाए भने चालिसेले २ हजार ५९ मत ल्याएका छन् । राठौर यसअघि केन्द्रीय कार्यसमिति सदस्य थिए ।
मुस्लिम सहमहामन्त्रीमा देउवा समूहका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । उनले कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २ हजार ७ सय ७६ मत पाए भने वकिलले १ हजार ८ सय ७१ मत पाए । मन्सुर यसअघि केन्द्रीय सदस्य थिए ।
थारू सहमहामन्त्रीमा खानेपानीमन्त्री उमाकान्त चौधरी निर्वाचित भएका छन् । सिटौलानिकट उनी देउवा समूहबाट निर्वाचित भएका हुन् । उनले २ हजार ७ सय ६२ मत पाए भने कोइराला समूहका तेजुलाल चौधरीले १ हजार ८ सय ७७ मत पाए । चौधरी सिटौलाको कोटाबाट वर्तमान सरकारका खानेपानीमन्त्री भएका हुन् । १३ औं महाधिवेशनमा सिटौला समूहबाट कोषाध्यक्ष जितेका उनी अहिले थारूतर्फ सहमहामन्त्री बनेका छन् । अहिलेको केन्द्रीय पदाधिकारीमा सिटौलाको प्रतिनिधित्व गर्ने उनी एक्ला नेता हुन् ।

गच्छदार र थापा संकटमा
२०६४ मा कांग्रेसबाट बाहिरिएका विजयकुमार गच्छदार एक दशकपछि पुनः कांग्रेसमा फर्किंदै उपसभापति बने । उनले आफ्नो नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा समायोजन गर्दा उपसभापतिसहित ११ केन्द्रीय सदस्य र २० हजार क्रियाशील सदस्य पाएका थिए । यसपटक उपसभापतिमा दोहोरिने आकांक्षा असफल भएपछि भने गच्छदारको कांग्रेसभित्रको राजनीतिक भविष्य अन्योलमा परेको छ । ‘हामी राम्रै प्रभाव र शक्तिसहित कांग्रेसमा समायोजन भएका थियौं तर उपसभापतिमा थोरै मतले पराजित भएपछि केही न केही असर त पर्ला,’ उनीपक्षीय नेता रामजनम चौधरी भन्छन्, ‘तर निर्वाचनको सम्पूर्ण परिणाम नआई अहिल्यै भन्न सकिँदैन ।’ गच्छदार देउवाको प्यानलबाट उपसभापति उम्मेदवार बनेका थिए । उनले आफूसहित ६ जनालाई देउवा समूहबाट केन्द्रीय सदस्य उम्मेदवार बनाएका छन् । आफ्नो समूहबाट उम्मेदवार बनेका सबैले जिते पनि उनले कांग्रेसमा आफ्नो शक्ति कायम राख्न सक्ने छैनन् । अर्कोतिर उनी बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सांसदबाट निलम्बनमा परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका सुनील थापाको भविष्यमाथि पनि अनेक अड्कल हुन थालेको छ । समायोजनपछि उनी सहमहामन्त्री बनेका थिए । थापासँगै ६ जना केन्द्रीय सदस्य र ३ जना आमन्त्रित केन्द्रीय सदस्य थिए । यसपटक उनले देउवा प्यानलबाट खसआर्यबाट सहमहामन्त्री दोहोरिन चाहेका थिए । तर केन्द्रीय सदस्यमै चित्त बुझाउन बाध्य भए । ‘राप्रपाबाट आएकामध्ये एक जना मात्र उम्मेदवार बन्ने निर्णय गर्‍यौं, केही साथी मनोनीत भएर केन्द्रीय सदस्यमा पुग्नुहोला,’ उनले भने, ‘यसपटकको केन्द्रीय समितिमा समायोजन हुने बेलाको भन्दा कम सहभागिता भए पनि प्रभाव भने घट्ने छैन ।’

Page 3
समाचार

चीनसहित २० देशमा राजदूत रिक्त

नेपालका ३० दूतावास र तीन संयुक्त राष्ट्रसंघीय नियोगमध्ये १० वटामा राजदूत, तीन वटामा नियुक्ति प्रक्रियामा
- जगदीश्वर पाण्डे

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको पाँच महिना बितिसक्दा पनि विदेशस्थित कूटनीतिक मिसनहरूले पूर्णता पाएका छैनन् । उत्तरी छिमेकी चीनसहित २० वटा मिसन नेतृत्वविहीन छन् । तीमध्ये कतिपयमा चार वर्षदेखि राजदूत नियुक्त भएका छैनन् ।
नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन् । तीमध्ये १० वटामा नेतृत्व छ भने थप तीनवटा मुलुकमा राजदूत नियुक्ति प्रक्रियामा छ । सरकारले गत कात्तिक ११ मा भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइ भएर सम्बन्धित मुलुकहरूमा एग्रिमो (सहमति) का लागि परराष्ट्र मन्त्रालयले पठाइसकेको छ । सम्बन्धित मुलुकबाट सहमतिपत्र प्राप्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नेछिन् । पाकिस्तान, थाइल्यान्ड, कुवेत, यूएई, फ्रान्स, जर्मनी, बेल्जियम, क्यानडा तथा संयुक्त राष्ट्रसंघीय नियोगहरू (न्युयोर्क र जेनेभा) मा पनि प्रमुख छन् ।
सत्ता गठबन्धन दल माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्ने सम्बन्धमा आफूहरूले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइसकेको बताए । देउवाले कांग्रेस महाधिवेशनपछि यस विषयमा छलफल गर्ने बताएको उनले जानकारी दिए । ‘अब छिट्टै राजदूत नियुक्त होलान्, लामो समय कूटनीतिक नियोगहरूलाई नेतृत्वविहीन बनाउनु उचित हुन्न,’ उनले भने । श्रेष्ठका अनुसार राजदूत नियुक्ति पार्टीको कोटामा भन्दा पनि राजनीतिमै नलागेका र मुलुकलाई योगदान गर्ने व्यक्तिहरूलाई ध्यानमा राखेर गर्नु उचित हुन्छ ।
भारत, अमेरिका र बेलायतमा सरकारले कांग्रेसको कोटाबाट राजदूत सिफारिस गरेको छ भने चीनका लागि माओवादीको कोटाबाट राजदूत सिफारिस गर्ने तयारी छ । श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा करिअर (परराष्ट्रको कर्मचारी) र राजनीतिक नियुक्ति ५०/५० प्रतिशत गर्ने कार्यविधि निर्माण गरिएको छ । अहिले कार्यरत १३ मध्ये १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । तीन जनामात्र राजनीतिक नियुक्तिका हुन् । अब बाँकी २० राजदूतमा ६/७ जना करिअर र बाँकीको राजनीतिक नियुक्ति हुनेछ ।
एक मन्त्रीका अनुसार राजदूत नियुक्ति सम्बन्धमा पछिल्लो समय मन्त्रिपरिषद्मा कुनै छलफल भएको छैन । तर परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको जनाएको छ । परराष्ट्रमन्त्री नारायण खड्का मन्त्रालयका भन्दा आफ्नै व्यक्तिगत काममा बढी व्यस्त छन् । अन्तिम समयमा बालुवाटारले दिएको सूचीलाई नै मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुपर्ने भएकाले उनले राजदूत नियुक्तिमा चासो व्यक्त नगरेको परराष्ट्रका एक अधिकारीले बताए ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराई सरकारले राजदूत नियुक्ति नगरेर अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश प्रवाह गरिरहेको बताए । ‘कुनै पनि मुलुकमा दूतावास खाली हुनु ठीक होइन, त्यसमा पनि नेपालजस्तो मुलुकलाई विदेशी सहयोग चाहिन्छ,’ उनले भने, ‘नेपालीले हाम्रो विकास–निर्माणका पूर्वाधार र कोभिड–१९ पछि अर्थतन्त्रलाई सुदृढ गर्नका लागि विदेशी सहयोग आवश्यक पर्छ । हामीसँग मात्र स्रोत पर्याप्त छैन । यस्तो अवस्थामा हामीले विदेशी मुलुकसँग बलियो सम्बन्ध बनाउनुपर्ने हुन्छ तर सम्बन्धित मुलुकमा हाम्रो मिसन प्रमुख नहुँदा काम हुन सक्दैन ।’
भट्टराईले सरकारले राजदूत नै नियुक्त नगर्ने हो भने अघिल्लो सरकारको समयमा काम गरिरहेका राजदूतलाई फिर्ता बोलाउनु ठीक नभएको बताए । देउवा सरकारले असोज ५ को निर्णयअनुसार राजनीतिक नियुक्ति पाएका १२ मुलुकका राजदूतलाई फिर्ता बोलाएको थियो । देउवाले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्दा चीन छुटेको भन्दै पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक कार्यक्रममै प्रश्न उठाएका थिए ।
सन् २०१९ को जनवरीमा विवादमा परेपछि तत्कालीन राजदूत अर्जुनजंगबहादुर सिंह फर्केपछि दक्षिण कोरियामा अहिलेसम्म राजदूत नियुक्त गरिएको छैन । नियुक्तिका लागि सरकारले पनि खासै चासो दिएको छैन । यस्तै, अवस्था श्रीलंकाको पनि छ । सन् २०१९ को जुलाईमा तत्कालीन राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएर नेपाल फर्केयता कोलोम्बो दूतावास नेतृत्वविहीन छ ।
पूर्वपरराष्ट्र सचिव अर्जुनकुमार कार्कीले यसरी लामो समयदेखि विदेशस्थित मिसनहरू नेतृत्वविहीन रहँदा गलत सन्देश जाने बताए । उनी नेपाली मिसनमा नेतृत्वकर्ता नहुँदा विदेशमा सम्बन्धित मुलुकसँग गर्नुपर्ने आवश्यक गृहकार्य हुन नसक्ने ठान्छन् । ‘विदेशी मुलुकमा नेपाली मिसनको प्रमुख नहुँदा काम गर्ने, सहकार्य गर्ने तथा नेपाललाई आवश्यक फाइदा लिने सम्बन्धमा पछि पर्नेछौं । जसले गर्दा नेपाललाई फाइदा हुन्न,’ उनले भने, ‘नेपाल सरकारले सक्षम र अब्बल व्यक्तिहरूलाई राजदूत नियुक्ति छिटो गर्नुपर्छ र मुलुकलाई अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बनाउनु हुन्न ।’

समाचार

१२ वर्ष माथिकालाई भोलिदेखि खोप

झन्डै डेढ करोड डोज भण्डारमै
बुस्टर खोपबारे छैन तयारी
- अतुल मिश्र

सरकारले बालबालिकाका लागि आइतबारदेखि ५७ जिल्लामा कोभिडविरुद्घको मोडर्ना खोप दिने भएको छ । १२ देखि १७ वर्षकालाई पुस १४ सम्म खोप दिइनेछ । दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४ सय ८ छ ।
यस्तै, पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने सरकारी तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ । ‘जुन जिल्लामा अत्यन्त न्यून तापक्रममा खोप भण्डारण गर्ने क्षमता छ, त्यहाँ फाइजर र त्यो क्षमता नभएका जिल्लामा मोडर्ना खोप दिइने भएको हो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । साविकको खोप केन्द्रसँगै विद्यालयमा समेत केन्द्र विस्तार गर्न सकिने डा. अधिकारीले बताए । प्रदेश १ को झापा, मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा, पर्सा, गण्डकीको कास्की, बागलुङ, लुम्बिनीको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप अभियान सञ्चालनबारे पछि मिति तोकिने उनले जानकारी दिए ।
फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । दुई डोज लिएकामा खोप नलिनेको दाँजोमा लक्षणयुक्त कोभिडले ग्रस्त हुने सम्भावना ९५ प्रतिशत कम देखिएको वैज्ञानिक अध्ययनले देखाएका छन् । फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । १२ देखि माथिको उमेर समूहलाई प्रभावकारी मोडर्ना भने ४–६ साताको अन्तरमा दुई डोज लगाउनुपर्छ ।
शुक्रबारसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ भने मार्चसम्म थप करिब ३ करोड डोज आउनेछ । देशभर २ करोड १४ लाख ४५ हजार १ सय ४५ डोज लगाइएको छ । एक डोजमात्र लगाउने ३९.२ प्रतिशत अर्थात् १ करोड १९ लाख १३ हजार ८ सय ८६ जना छन् भने पूर्ण खोप लिनेको संख्या ३१.४ प्रतिशत अर्थात् ९५ लाख ३१ हजार २ सय ५९ छ ।
नेपालसमेत कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को जोखिम रहेको अवस्थामा बुस्टर डोज लगाउन विज्ञहरूले सुझाव दिइरहेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले बुस्टर डोज निःशुल्क दिन तयारी थालेको बताएका थिए । तर, सरकारले अझै यसबारे निर्णय लिन सकेको छैन । हाल १ करोड ४० लाख २१ हजार ८ सय ३५ डोज भण्डारमा छ ।
यसैबीच, अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै नेपालबाट आवागमन हुने ६७ देशका यात्रुले आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । क्वारेन्टाइनमा परीक्षण गर्नुपर्ने र पोजिटिभ नतिजा आएमा तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाउन पनि विभागले भनेको छ ।

मोडर्ना खोप कहाँ–कहाँ ?
प्रदेश १ का ११ जिल्ला : ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर
प्रदेश २ का ५ जिल्ला : सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा
वाग्मतीका ७ जिल्ला : दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर
गण्डकीका ९ जिल्ला : गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व,स्याङ्जा र पर्वत
लुिम्बनीका ९ जिल्ला : रूकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया
कर्णालीका ९ जिल्ला : डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रूकुम पश्चिम र सल्यान
सुदूरपश्चिमका ७ जिल्ला : बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर

फाइजर खोप कहाँ–कहाँ ?
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत

समाचार

भारतमा विवाहको उमेर हद बढाइँदै

- राजेश मिश्र

भारत सरकारले विवाहको न्यूनतम उमेर हद २१ वर्ष तोक्ने निर्णय गरेको छ । अहिलेको कानुनमा विवाहका लागि पुरुषको उमेर न्यूनतम २१ र महिलाको १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।
त्यसलाई संशोधन गरेर महिला र पुरुष दुवैको विवाहको न्यूनतम उमेर २१ पुर्‍याउने तयारी गरिएको हो । सन् १९५५ मा बनाइएको कानुनमा महिलाको विवाहको उमेर हद १८ वर्ष तोकिएको थियो । त्यसको झन्डै ६७ वर्षपछि कानुन संशोधनको तयारी गरिएको हो । महिला र पुरुषबीच हरेक क्षेत्रमा समानताको कुरा उठिरहेका बेला विवाहको उमेरमा किन असमानता भनेर भारतमा प्रश्न उठ्दै आएको थियो ।
सरकारले बनाएको एक समितिकी अध्यक्ष जया जेटलीलेप्रत्येक क्षेत्रमा लैंगिक समानता र सशक्तीकरणको कुरा भइरहेका बेला विवाहमा समानता हुनुपर्ने बताइन् । सञ्चारमाध्यमसँगको कुराकानीमा उनले १८ वर्षमा विवाह गरिने कानुनी व्यवस्थाका कारण महिलाहरूले अध्ययन पूरा गर्न नपाउने, छिट्टै गर्भ धारण गर्नुपर्नेलगायत कैयन् समस्या देखिएको बताएकी छन् ।
छिटो गर्भधारणले आमा र बच्चाको पोषण स्तर तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेकाले विवाहको उमेर बढाउँदा त्यसमा कमी आउने विश्वास एक रिपोर्टमा गरिएको छ । भारतमा अहिले पनि २३.३ प्रतिशत महिलाको विवाह १८ वर्षभित्रै भइरहेको छ । त्यस्तो अवस्थामा कानुनमा पुनः संशोधन गरेर २१ वर्ष पुर्‍याउँदा गैरकानुनी रूपमा विवाह गर्नेको संख्या अझ बढेर जाने अनुमान छ ।

Page 4
उपत्यका

नगरकोट सडक निर्माण- ठेकेदारविरुद्ध आन्दोलन घोषणा

समयमै काम नसक्ने शैलुङ–एआईपीएल जेभीसँगको ठेक्का रद्द गर्न दबाब दिन चाँगुनारायण नगरपालिका नै सडकमा उत्रिने
- लिला श्रेष्ठ

भक्तपुर–नगरकोट–सिपाघाट सडकअन्तर्गत निर्माणधीन सल्लाघारी खण्ड । तस्बिर सौजन्य : राजकुमार लामिछाने 

७ वर्षसम्म पनि नगरकोट निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाले निर्माण कम्पनीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन नै गरेर पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ‘थपिएको म्यादभित्र पनि सडक बनिसक्नेमा विश्वास लाग्दैन । ठेकेदारले दबाब हुँदा मात्र काम गरेजस्तो गरिरहेको छ,’ चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रले भने, ‘नगरपालिकाकै नेतृत्वमा आन्दोलनका कार्यक्रम तय गरेका छौं । ठेक्का रद्द गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
भक्तपुर–नगरकोट–सिपाघाट सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले ०७१ जेठ २२ मा पाएको थियो । ०७३ कात्तिक ४ मा काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ७८ प्रतिशत मात्रै काम सकिएको छ । हालसम्म ७ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक गत भदौ ३ मा मन्त्रिपरिषद् बैठकबाटै आगामी चैत मसान्तसम्मको समयसीमा दिइएको छ । आयोजनाको लागतसमेत साढे ४ करोड रुपैयाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ ।
लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् । यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गरेको नगर प्रमुख मिश्रको भनाइ थियो । ‘हामीलाई दिएको सास्तीस्वरूप सरकारले उसैलाई म्याद थपिदिएर पुरस्कृत गर्दै आएको छ,’ उनले भने ।
उनका अनुसार अनुसार पुस ७ मा सडक निर्माण कार्य अलपत्र पर्नुको कारणबारे सरोकारवालासँग अन्तरक्रिया, पुस ११ मा जिल्ला प्रशासन कार्यालय घेराउ, पुस १५ मा सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ गरिनेछ । यसैगरी, ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतिघर मण्डलमा धर्ना र अरनिको राजमार्गमा चक्काजामको कार्यक्रमसमेत तय गरिएको छ । नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय समिति र तत्कालीन भौतिकमन्त्रीहरूलाई पटक–पटक समस्या अवगत गराउँदा पनि तत्काल काम हुने आश्वासन मात्रै पाएको मिश्र बताउँछन् । तर निर्माण कम्पनीले काममा आलटाल गर्दै आएको छ । ‘काम भइरहेको जस्तो देखिन्छ तर खासै प्रगति भएको छैन,’ भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख गौतम श्रेष्ठले भने, ‘तापक्रम घट्दै गइरहेको छ, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कालोपत्रको काम भइरहेको छ ।’ नाली, पर्खाल बनाउने, बेस स्केलिङ गर्ने कार्य पनि भइरहेको उनले बताए ।
लकडाउन र निषेधाज्ञाले निर्माण सामग्री ढुवानीमा परेको असर र कामदार अभावको कारण देखाउँदै निर्माण कम्पनीले सातौं पटकसमेत म्याद थप गराएको उनी बताउँछन् । उनका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त गर्न प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २०७३ कार्त्तिक ४ सम्म काम सक्ने गरी १२५ दिन म्याद थप भएको थियो । दोस्रोपल्ट भूकम्पको बहानामा २०७४ कात्तिक १८ सम्म ३८० दिन, तेस्रोपल्ट सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, चुनावको बाहानामा २०७५ जेठ ३० मा सक्ने गरी २२१ दिन म्याद थप भयो ।
चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्र गर्न नसकिएको तथा खरिद नियमावली, २०६४ आठौं संशोधन अनुसार २०७७ वैशाख ७ मा निर्माण सक्ने गरी ६७६ दिन, पाचौंपल्ट खरिद नियमावली नवौं संशोधनअनुसार म्याद थप सम्बन्धी पूर्वनिर्णयहरू यथावत कायम भन्दै २०७७ पुस १५ सम्मका लागि २५५ दिन, छैटौंपल्ट कोरोनाका कारण भएको लकडाउनको बाहनामा २०७८ असार १४ सम्म १८१ दिनका लागि म्याद थप भएको थियो । तर हरेकपटक विभिन्न बहानामा म्याद थप भए पनि कामको रफ्तार बढेन ।
शैलुङ कन्स्ट्रक्सनका साइट इन्चार्ज प्रकाश लामिछाने भने पर्खाल, नाली, कटिङलगायत संरचनाको काम ९० प्रतिशत सकिएको दाबी गर्छन् । ‘कालोपत्र सुरु गर्ने समयमा लकडाउन भयो, लकडाउन खुकुलो हुँदा वर्षा, वर्षा सकिँदा चाडपर्व आयो,’ उनले भने, ‘यो वर्ष चिसो सुरु भइसकेको छ, म्याद सकिनु अगावै काम सक्ने लक्ष्यसहित निर्माण सामग्री ल्याइसकिएको छ ।’ कुल १६ किमि सडकमध्ये हालसम्म कमलविनायकदेखि बास्तोलागाउँसम्मको करिब ८ किमि मात्रै सडक कालोपत्र भएको छ । तर उक्त कालोपत्र ठाउँठाउँमा क्षतविक्षत भइसकेको छ ।
कमलविनायक–नगरकोट सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछाने भन्छन्, ‘सडककै दुरवस्थाका कारण यहाँको पर्यटन व्यवसायसमेत धरासायी बनेको छ । दुर्घटनाको जोखिम मोल्दै यात्रा गर्न बाध्य छौं ।’

उपत्यका

सहकारीबाट ७ लाख चोरी

छोटकरी
- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– सहकारीको ताला फुटाई ७ लाख ५ हजार रुपैयाँ चोरी भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी लिमिटेडबाट बिहीबार राति उक्त नगद चोरी भएको हो । मूल गेटको ताला फुटाई सहकारी प्रवेश गरेका लुटेराले दराजभित्रको सेफ फुटाएर नगद चोरेको महानगरीय प्रहरी वृत्त थिमिका डीएसपी नरहरि रेग्मीले बताए ।

उपत्यका

चालकमाथि चक्कु प्रहार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– यात्रुले ट्याक्सी चालकमाथि चक्कु प्रहार गरेका छन् । काठमाडौं–१३ छाउनीमा बा१ज १४४६ नम्बरको ट्याक्सीका चालक काभ्रे रोशी गाउँपालिका घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामामाथि शुक्रबार साँझ सोही ट्याक्सीमा सवार बारा कलैयाका १९ वर्षीय विकास सरावले चक्कु प्रहार गरेका हुन् । घाइते लामाको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । सरावलाई चक्कुसहित पक्राउ गरी कानुनी कारबाही तथा अनुसन्धान थालेको उनले जनाए ।

उपत्यका

पाँचपोखरीको आफ्नै पाठ्यक्रम

- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक (कास)– पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम पढाउन थालेको छ । पाठ्यक्रम निर्धारण समितिद्वारा तयार ‘मेरो पाँचपोखरी’ पाठ्यपुस्तक कक्षा १ मा पढाउन सुरु गरिएको हो । गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीका अनुसार पाठ्यक्रम कक्षा ८ सम्मै लागू हुनेछ । ८ लाख खर्चेर बनाइएको पुस्तक २६ विद्यालयमा अनिवार्य गरिएको छ । ‘विद्यार्थीले पालिकाको भूगोल, सामाजिक अवस्था, पर्यटकीय स्थलको सामान्य ज्ञान राखून् भनेर आफ्नै पाठ्यक्रम तयार गरिएको हो,’ उनले भनिन् ।

Page 6
समाचार

चेपुवामा बित्दै कार्यकाल

अधिकार हुँदाहुँदै पनि महिला जनप्रतिनिधिप्रति दोस्रो दर्जाको व्यवहार भइरहेको लुम्बिनी प्रदेशका उपाध्यक्ष/उपप्रमुखको दुखेसो
- सन्जु पौडेल,मधु शाही,गगनशिला खड्का

स्थानीय तहमा जनप्रतिनिधि चुनिएको साढे ४ वर्ष पूरा भयो । जनप्रतिनिधिको कार्यकाल पूरा हुनै लाग्दा स्थानीय तह निर्वाचनको चर्चा सुरु भइसकेको छ । मुलुकको शासकीय व्यवस्था संघीय संरचना गएपछि पहिलोपटक स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको कार्यकाल भने चेपुवामै बित्न लागेको छ । आफ्नो जिम्मेवारी नबुझेरै अवधि सकिन लागेको उनीहरूको दुखेसो छ । उनीहरूले चाहेर पनि पदीय जिम्मेवारी प्रयोग गर्न र जनताका लागि आफ्ना तर्फबाट काम गर्न नसकेको बताएका छन् ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तवलाई पदको जिम्मेवारी पूर्णरूपमा बुझेर काम गर्न नपाउँदै कार्यकाल सकिन लाग्यो भन्ने लागेको छ । न्यायिक समितिको कामबाहेक अन्यमा आफू प्रयोगमात्र भएको उनले गुनासो गरिन् । ‘बल्लबल्ल यस पटक एक करोड बजेट आफ्नो भागमा ल्याउन पाएँ,’ उनले भनिन्, ‘वडाध्यक्षलाई एक करोड छुट्याउने प्रमुखले मलाई लाखमा रोकिदिनुभयो ।’ धेरै काम गर्नुपर्ने भए पनि बजेट अभावले भूमिका शून्य बनेको उनले बताइन् । आफ्नो जिम्मेवारीका अनुगमन र न्यायिक समितिमा सीमित काम गरे पनि योजना निर्माण र बजेट बाँडफाँटबारे पत्तो नपाउने गरेको उनले बताइन् । जनताको योजना वा बजेटमा आफूहरूको माग सम्बोधन होस् भन्ने चाहना उपप्रमुख पदमा रहँदा समेत पूरा गर्न नपाएको उनको गुनासो छ । ‘पहिले प्रमुख र अन्य जनप्रतिनिधिले दबाबमा राखेर काम गरे,’ उनले थपिन्, ‘मैले स्वीकृत नदिएका योजना र बजेटमा कर्मचारीलाई संयोजक तोकी काम गराउनेसम्मका क्रियाकलाप भएपछि अधिकारका लागि लडिरहें ।’
कोटहीमाई गाउँपालिकाकी उपाध्यक्ष भानमती बानियाँ ५८ वर्षकी भइन् । निर्वाचनबाट चुनिएकी उनले पदीय जिम्मेवारीबारे जानकारी नपाएरै कार्यकाल सकिन लागेको बताइन् । ‘नजानी नजानी अवधि सकिन लाग्यो,’ उनले भनिन्, ‘आफूलाई कुन कुन जिम्मेवारी प्राप्त भएको छ भन्ने विषय सधैं अन्योल भयो ।’ कक्षा ७ सम्म पढेकी उनले लेखपढ गर्न सक्ने भएकाले हस्ताक्षर गर्ने काममात्र भएको बताइन् । विभिन्न शाखाबाट पारित भई आएका योजनामा हस्ताक्षर गर्न लगाउँदा त्यसमा नाइँनास्ती गर्ने गरेको भन्दै बजेट बाँडफाँटको विषयमा आफूलाई पछि पार्ने गरेको उनले जनाइन् । ‘जनताले चुनेर पठाएपछि विकासका काममा योगदान गरोस् भन्ने चाहन्छन्,’ उनले भनिन्, ‘कुनै पनि कार्यक्रममा बजेट प्रयोग गर्न पाउने अधिकार मलाई दिइएको छैन ।’ बजेट पुस्तिकामा उपाध्यक्षले समेट्न खोजेका योजना नसमेटिएको भन्दै उनले जनताका अगाडि आफू देखिनसमेत अप्ठ्यारो भइरहेको बताइन् । ‘न्यायिक समितिका हरेक मुद्दामा आफूले गर्ने निर्णयको कार्यान्वयन भएकामा भने खुसी लाग्ने रहेछ,’ उनले भनिन् । योजना निर्माण तथा अनुगमन पनि आफ्नै संयोजनको जिम्मेवारी हो भन्ने विषय ज्ञान राख्नेले आफूलाई बताइदिने गरे तापनि प्रयोग गर्न नपाएको उनको गुनासो छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल आफ्ना हरेक कार्यमा चुनौती देख्छिन् । निर्वाचित भएयता उनले सहज तरिकाले कुनै जिम्मेवारी पूरा गर्न नपाएको दुखेसो पोखिन् । ‘देशैभरिका उपप्रमुख र उपाध्यक्षको समस्या मिल्छ होला,’ उनले भनिन्, ‘राज्यले नै उपप्रमुखलाई बलियो बनाउने पाटोमा सहयोगी भूमिका खेलेको छैन ।’ उनले उपप्रमुखको काम न्यायिक समिति हेर्ने र त्यसमा अन्यले सहयोग गर्नु नपर्ने किसिमले गरिने व्यवहार असह्य भएको जनाइन् । कुनै पनि जनप्रतिनिधिबाट सहयोग र हौसला नपाएको भन्दै पौडेलले कष्टकर कार्यभार सम्हालिरहँदा पनि आफूले सक्नेजति काम भने गरेको बताइन् । संघ, प्रदेश र आफ्ना सहकर्मी मानिएका प्रमुख कहीँकतैबाट पनि उपप्रमुखले काम गरेका छन्, उनीहरूलाई यसरी चलायमान बन्न दिनुपर्छ भन्ने खालका हौसला प्राप्त नहुँदा पीडा हुने उनी बताउँछिन् । अनुगमनमा जाँदा जनताले कमसल काम भएको भनी गर्ने गुनासोलाई चिर्नसमेत आफूले कसरी, कसले काम गरिरहेको छ भन्ने जानकारी नै नपाउने गरेको उनको गुनासो छ ।
कपिलवस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी बुझेर मात्र काम गर्न सक्ने भनी चिनिएकी छन् । आफ्नो जिम्मेवारी वहन गर्दा जनप्रतिनिधिभन्दा कर्मचारी हाबी भएकाले समस्या परिरहने उनले बताइन् । ‘स्थानीय तह निर्माण नै नौलो अभ्यास भएकाले यसमा पद सम्हालिरहँदा धेरै सिक्ने मौका पाइयो,’ उनले भनिन्, ‘जनताका माग असीमित भए, सीमित बजेटले थेग्न नसक्दा खिन्नता छाउँछ ।’ नगर प्रमुख र अन्य जनप्रतिनिधिभन्दा पनि कर्मचारी र राजनीतिक दबाबका कारण चाहेजस्तो काम गर्न नसकिएको आफ्नो अनुभव रहेको चौधरीले सुनाइन् । सम्भव भएका काममा समेत प्रशासकीय अधिकृतले मिल्दैन भनेर काम गर्न नपाउनु महिला भएकै कारण हेपिएको हो कि जस्तो भान हुने गरेको उनको गुनासो छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले आफ्ना अधिकार प्रयोग गर्ने सिलसिलामा नागरिककै साथ र सहयोग सोचेजस्तो नपाएको गुनासो गरिन् । नेतृत्वदायी भूमिका प्राप्त गरी अघि बढ्दा भएको सिकाइ आफ्ना लागि अमूल्य भए पनि उपप्रमुखको पनि प्रमुखसरह महत्त्व छ भन्ने विषयलाई जनताले बेवास्ता गरिदिँदा चित्त दुख्ने उनी बताउँछिन् । ‘मेरो कार्यक्षेत्रबाट हुने काममा पनि नगर प्रमुख खोज्दै धाउनुहुन्छ,’ उनले भनिन्, ‘प्रमुखलाई ठूलो मान्ने र उपप्रमुखले गर्न सक्दैनन् भन्ने सोच हटाउन सकिएको छैन ।’ लडेर आफू बराबरी हकमा आउन सफल भएको उनको भनाइ छ । कर्मचारीलाई समेत समन्वय गरी अघि बढ्नुपर्छ भन्नेबारे जानकारी गराएरै काममा साथ लिने गरेको उनको भनाइ छ ।

कुर्सीदेखि विचारसम्म अंकुश
भान्सामा हुँदा उनको आफ्नै शासन चल्छ । तराईको गर्मी । त्यो पनि घुम्टोभित्र बाफिएर तातो अँगेनामा रोटी पकाएर परिवारको भोक मेटाउनुपर्ने । यसरी नै गृहस्थी जीवनमा रमाउँदा रमाउँदै स्थानीय निर्वाचनमा होमिएकी नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले चार वर्षको अवधिमा थुप्रै तीतामिठा अनुभव बटुलिन् । समयको समीक्षा गर्दा उनलाई घर सम्हाल्नु र जनता सम्हाल्नुमा आकाश–जमिनको अन्तर महसुस भएको छ । जयन्तीको कम बोल्ने स्वभाव छ । जब स्थानीय तहको निर्वाचनमा निर्वाचित भइन्, तब उनी चुप लागी बस्न सम्भव भएन । बोल्दा बोल्दै कुरा बिग्रिने हो कि भन्ने चिन्ता र त्रासले उनको मन पोल्थ्यो । त्यसैले फ्याट्ट बोल्न आँट आउँदैन थियो उनलाई । उपाध्यक्ष भइसकेपछि उनलाई भाषामा समस्या आयो । त्यस्तै प्रशासनिक बुझाइ त झनै जटिल लाग्न थाल्यो । उनले आफ्नै छोरालाई सहयोगी बनाइन् । के बोल्ने, के नबोल्ने, कति बोल्ने भन्ने सबै छोराको भाषा हुन्थ्यो । ‘बोल्छु म, शब्द छोराको हुन्थ्यो,’ उनले भनिन्, ‘तीन वर्ष यसरी नै चलाएँ ।’
गाउँपालिकाको प्रशासनिक काम बुझ्न समय लागेको उनले बताइन् । तर, उनलाई यति थाहा थियो कि जनताको काम जति सक्दो छिटोछरितो गरिदिनुपर्छ । अध्यक्षले एक इसाराको भरमा भइहाल्ने काम जयन्तीको हकमा ठिक उल्टो हुन्थ्यो । ‘महिनौं लाग्दा पनि मैले दिएको जनताको फाइल टेबलमा जस्ताको तस्तै हुन्थ्यो,’ उनी भनिन्, ‘सुरुसुरुमा कर्मचारीलाई मिठो मुखले सम्झाएँ ।’ विनम्रताको भाषा कर्मचारीले नबुझेपछि उनी चर्किन थालिन् । उनका अनुसार जनताको काम छिटो नगरिदिने कर्मचारीको कार्यकक्षमा ताल्चा लगाइदिने धम्कीसमेत दिइन् । यो रहर थिएन, बाध्यता थियो । यो नियति पालिका अध्यक्षले झेल्नु परेन । यसबाट जयन्तीले आफू महिला भएकै कारण प्रशासनदेखि प्रमुखले अटेरी गरेको महसुस गरिन् । गाउँपालिकाको निर्णय सुन्ने र हस्ताक्षर गर्नुमै उनको कार्यकाल व्यतित भयो । ‘हस्ताक्षर गर्नु भनेपछि गर्नै पर्थ्यो, कामै त्यत्ति भयो,’ उनले भनिन् ।
राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीको भोगाइ पनि जयन्तीको भन्दा फरक छैन । उनी खरो स्वभावकी छन् । मनमा लागेको विचार प्रस्ट भन्छिन् । छुच्चो बोलीले गर्दा अध्यक्षको प्यारो नभएको उनले व्यंग्य गर्दै भनिन् । पालिका अध्यक्षले उपाध्यक्षलाई जिम्मेवारी र अधिकारको सवालमा सधैं हस्तक्षेप गर्ने प्रयास गरेको अनुभव उनले साटिन् । उनका अनुसार पालिकामा निर्वाचित भएर आएपछि उपाध्यक्षका लागि जम्मा १० लाख रुपैयाँ मात्रै बजेट दिइएको थियो । न्यायिक समिति, अनुगमन समितिलगायतको संयोजक हुँदा पदअनुकूल बजेट नदिने प्रवृत्तिले उनी पीडित थिइन् । लगातार तीन वर्षको संघर्षपछि उनले कार्यकालको लगभग अन्तिम वर्ष (यस वर्ष) अढाई करोड रुपैयाँ बजेट विनियोजन गर्न सफल भएको बताइन् । त्यस्तै, जनताको सेवा गर्दासमेत हस्तक्षेप गर्ने गरेको उनले सुनाइन् । यहाँसम्मकी कर्मचारीले नै उपाध्यक्षलाई उल्टै ‘कठै’ र ‘बिचरा’को पात्र बनाउँथे ।
बर्दियास्थित बारबर्दिया नगरपालिकाकी उपप्रमुख अन्जु दहितले कार्यालयको सेवासुविधा प्रयोग गर्नेदेखि बैठकमा उठाउने विचारसम्मका गतिविधिमा पितृसत्तात्मक सोचको हस्तक्षेप भइरहेको बताइन् । उनका अनुसार प्रमुख र उपप्रमुख दुवैको सवारी साधनको सुविधा थियो । प्रमुखको सवारी प्रयोग गर्न अरू कसैले पाउँदैन थिए । प्रमुख चढ्ने सवारीलाई प्रयोग गर्नुपरे नियमसंगत ढंगले सोधेर मात्रै प्रयोग गरिन्थ्यो । तर, उपप्रमुखको सवारी साधन जसले जतिबेला जहाँ लगे नि हुने । अन्जुले धेरैपटक सवारी साधनको दुरुपयोग नगर्न र आफूसँग अनुमति लिन कर्मचारी र प्रशासनलाई अनुरोध गरिन् । यद्यपि, कसैले यो विषयलाई गम्भीरताका साथ लिएनन् । ‘कसैले टेरपुच्छर लगाएनन्,’ उनले भनिन्, ‘पछि म आफैंले सरकारी गाडी चढ्न छोडिदिएँ र निजी मोटरसाइकल चलाउन थालेँ ।’ यद्यपि, कार्यालयमा सोफा ल्याउने विषयमा समेत प्रमुख र उपप्रमुखको हैसियत निर्धारण गरिएको उनले सुनाइन् । उनले यसलाई कर्मचारीमा पुरुष र महिलाप्रति हेर्ने दृष्टिकोणको असरसमेत उपप्रमुखले भोग्नु परेको बताइन् । अधिकार प्रयोग गर्ने बेलासमेत प्रमुखबाट घुमाउरो शैलीमा हस्तक्षेप गरिन्थ्यो । उनी हरेक हस्तक्षेपको चर्को विरोध गर्थिन् ।
गुलरियाकी उपप्रमुख सुशीला गिरी जनप्रतिनिधि हुनुअघि निजामती कर्मचारी थिइन् । त्यसैले प्रशासनमा कर्मचारीको काम जानकारी थियो । उपप्रमुख भए पनि पदअनुसारको जिम्मेवारीमा खुलेर काम गर्न नपाएको उनको गुनासो छ । सजिलै काम गर्न नदिने प्रवृत्तिले पीडित भएको उनले बताइन् । उनी जुन समितिको संयोजक हुन्थिन्, त्यही समितिलाई थाहै नदिई प्रमुखले बैठक गरेका थिए । पटक–पटक यस्तै हुन थालेपछि उनी विरोधमा उत्रिन थालिन् । त्यस्तै, बैठकमा उठाएका एजेन्डा एउटा हुने र निर्णय सुनाउँदा अर्कै हुने गर्थ्यो । सुशीलाले थितिविरुद्ध गरिने हरेक क्रियाकलापको खरो विरोध गरिन् । ‘कर्मचारीजस्तो उपप्रमुखको पद होइन,’ उनले भनिन्, ‘पछि विरोध जनाएपछि मेरै नाममा निमन्त्रणा आउन थाल्यो ।’
पदीय अधिकार थुप्रै हुँदाहुँदै पनि प्रशासनदेखि जनप्रतिनिधिले महिला जनप्रतिनिधिप्रति गर्ने व्यवहार दोस्रो दर्जाको भएको उपप्रमुखहरूको कार्यअनुभव छ । दाङको बबई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा विश्वकर्माको जनस्तरमा भिजेर काम गरेको अनुभव छ । वि.सं. २०५४ को स्थानीय निकायको निर्वाचनमा वडा सदस्य भएको अनुभव उनलाई थियो । दलित समुदायको प्रतिनिधित्व गर्ने महिला भएकीले उनीसामु जिम्मेवारीसँगै विभेदको दोहोरो चुनौती थियो । यो उनका लागि नौलो थिएन । समस्यालाई समाधान गर्न र व्यवस्थापन गर्न सावित्रालाई समय भोगाइले परिपक्व बनाएको छ । जिम्मेवारी निभाउन कसैले हस्तक्षेप गर्छ भने ठाडो विरोध गर्ने गरेको उनले बताइन् । बजेट ल्याउने कुरा, महिला र दलितको शीर्षकमा काम गर्ने विषयमा अलि बढी चेपुवामा पर्ने गरेको उनले अनुभव सुनाइन् ।

पद नै जोखिमपूर्ण
बाढीपहिरो, दुर्घटना र कोराना संक्रमण रोकथामका लागि एउटी महिला मोटरसाइकलमा कुद्छिन् । राहत र उद्धारमा सघाउँछिन् । समस्या पर्दा आँगनमा आइपुग्ने तिनै महिला इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्री हुन् भन्ने जानकारी पाउँदा गाउँले दंग पर्छन् । योजना अनुगमन छुटाउदिनन् । साँघुरा सडकमा मोटरसाइकल कुदाएर घरदैलोमा पुग्छिन् । ‘म ४० वर्ष कटिसकेकी महिला, अनुगमन समिति संयोजक हुँ । गाउँपालिका अध्यक्षलाई गाडी छ, हामीलाई साधन छैन,’ उनले भनिन्, ‘अध्यक्ष–उपाध्यक्षबीच यही विभेद हो ।’ बाध्यताले मोटरसाइकल चलाउन सिकेकी उनले अहिले महिला कमजोर हुन्छन् भन्ने मान्यता तोड्न सफल भएको बताइन । गुल्मीका १२ स्थानीय तहका अध्यक्ष एवं उपाध्यक्ष र प्रमुख एवं उपप्रमुखमध्ये मोटरसाइकल हाँक्ने खत्री एक्ली हुन् । पालिकाको उच्च पदमा पुगे पनि महिला पुरुषबीचको विभेदले उनलाई पिरेको छ । उपाध्यक्ष निर्वाचित हुनुपूर्वर् शिक्षण पेसामा थिइन् । उनी वैदेशिक रोजगारीका लागि इजरायलमा काम गरेर फर्केकी हुन् । ‘उपाध्यक्ष पद भनेकै रिस्की रहेछ । न्यायिक समितिको संयोजक भएका कारण सबै मानिसको फैसलामा चित्त बुझाउन सकिंदैन,’ उनले भनिन्, ‘अझ अनुगमन समितिको संयोजक भइसकेपछि नियम नमान्नेको निसानामा परिन्छ ।’
प्रशासनिक चरित्रअनुसार जिम्मेवारी निर्वाह गर्न गाह्रो परेको कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले सुनाइन् । अध्यक्षले कर्मचारी, उपाध्यक्षलाई नसोधी काम गर्नेर्, अनुगमनका बेला खबर नगर्ने, उपाध्यक्षलाई गुमराहमा राखेर काम गर्न खोज्दा आफ्नो भूमिका ओझेलमा परेको उनले गुनासो पोखिन् । ‘उपाध्यक्ष घरबाट भर्खर बाहिर निस्केको मान्छे हो भन्ने अध्यक्षको मानसिकता हुँदो रहेछ,’ उनले भनिन्, ‘प्रशासनिक कामबारे केही थाहा छैन जस्तो व्यवहार गर्दा अपमान महसुस हुँदो रहेछ ।’ पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी उपाध्यक्षमा चेतकुमारी थापाले सबै महिलाको प्रतिनिधित्व गर्ने भए पनि समुदायका लागि काम गर्दा चुनौती सामना गर्नुपरेको बताइन् । महिलाहरू सामाजिक, राजनीतिक र आर्थिक रूपमा पछाडि परेकाले उनीहरूका लागि विनियोजन गर्न कार्यपालिकाको बैठक बहिष्कार गर्नुपरेको उनले बताइन् । भर्खर निर्वाचित भएर आउँदा कानुनी प्रक्रिया जानकारी नहुँदा समस्या झेल्नुपरेको उनले बताइन् । पाल्पाको माथागढी गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले अग्रजले नै प्रतिस्पर्धीको जस्तो व्यवहार गर्दा दुःख लागेको बताइन् । उनले भनिन्, ‘उपाध्यक्षलाई आफ्नो प्रतिस्पर्धीका रूपमा हेर्ने रहेछन् ।’


उपप्रमुख वा उपाध्यक्षको काम, कर्तव्य र अधिकार
१. न्यायिक समितिको संयोजक भई कार्य गर्ने
२. अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने
३. गैरसरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने
४. उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यको समन्वय गर्ने
५. योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने
६. सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने
७. सात दिनभन्दा बढी समय गाउँ वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने
८. सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रयोजन गरेका वा तोकेका अन्य कार्य गर्ने

Page 7
अर्थ वाणिज्य

अर्थतन्त्र सुधार्न सामूहिक प्रयासको सुझाव

अर्थविद्हरु भन्छन्, ‘बिग्रँदा सूचक एकल प्रयासले सुध्रिँदैनन्, प्राथमिकताका क्षेत्र पहिचान गरेर युद्धस्तरमा सुधारको प्रयास थालौं’
- कान्तिपुर संवाददाता

 

संकटको दिशाउन्मुख अर्थतन्त्रलाई सामूहिक प्रयासमार्फत सम्हाल्न अर्थविद्हरूले सरकारलाई सुझाएका छन् । सरकारी क्षेत्रबाट हुने औसत गतिको प्रयासबाट मात्रै सूचकहरू सुधार्न नसकिने भएकाले सबै क्षेत्रको सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ । आर्थिक संकटको जोखिम निम्तन नदिन सबै दलबीच न्यूनतम साझा धारणा आवश्यक रहेकाले त्यसको पहलका लागि पनि सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले शुक्रबार अर्थतन्त्रका जानकारहरूसँग नेपालको अहिलेको अवस्था र सम्भावित परिदृश्यबारे छलफल गरेको थियो । छलफलमा अर्थविद्हरूले अर्थतन्त्र दुर्घटनाको खतरातर्फ उन्मुख रहेको बताएका हुन् । पाँच महिनामा करिब ७ प्रतिशत बराबरमात्रै विकास खर्च हुनु, बढ्दो आयातका कारण वैदेशिक व्यापार घाटा उच्च हुनु, शोधनान्तर स्थिति न्यून हुनु, विदेशी विनिमय सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन नाजुक अवस्थामा पुग्नु, बजारमा लगानीयोग्य रकमको चरम अभाव देखिनु जस्ता समस्या अहिले मुलुकले भोगिरहेको छ । सरकार आफैंले पनि अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको स्विकारिसकेको छ । तर नियन्त्रण बाहिर नरहेको र सुधारका लागि सरकारले प्रयास गरिरहेको अर्थमन्त्री जनार्दन शर्माले यसअघि अर्थ समितिको बैठकमै बोलिसकेका छन् ।
अर्थविद्हरूले भने अर्थतन्त्रले गम्भीर संकटको संकेत गरेको बताएका छन् । पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सबै राजनीतिक दलहरूले विदेश नीति, प्रतिरक्षा नीति र आर्थिक नीतिमा न्यूनतम साझा धारणा बनाउनुपर्ने बताए । राजनीतिक दलहरूबीच प्रतिशोधको भावना रहने भए पनि राष्ट्रहितका लागि सबै एकै कित्तामा उभिनुपर्ने उनको भनाइ छ । ‘राजनीतिको चङ्गुलमा परेर नै अर्थतन्त्र तहसनहस भएको हो । सुधारको प्रयासका लागि सबै क्षेत्र प्रतिबद्ध हुनैपर्छ,’ क्षेत्रीले भने ।
अहिले अर्थतन्त्रका सूचकहरूलाई विश्लेषण गर्दा विरोधाभासपूर्ण अन्तरसम्बन्ध देखिने गरेको अर्थशास्त्री डिल्लीराज खनालको भनाइ छ । ‘महामारी संकट उच्च बिन्दुमा पुग्दा पनि अर्थतन्त्रका सूचक अहिलेको जस्तो नराम्रा थिएनन् । अहिले पुनरुत्थानको चरणमा धराशायी बनिरहेका छन् । यो आफैंमा एक पाराडक्स (विरोधाभास) हो,’ उनले भने, ‘बैंकिङ क्षेत्रमा लगानी बढेको बढ्यै छ । तर त्यसको प्रभाव उत्पादनका क्षेत्रमा देखिँदैन ।’ सरकारले मासिक १० प्रतिशत बजेट खर्च गर्ने गरी लिएको लक्ष्य पनि विरोधाभासपूर्ण रहेको उनले बताए । योजना कार्यान्वयनको कुनै स्पष्ट ढाँचाबिनै एकनासले बजेट खर्च गर्छु भन्नु स्वाभाविक नरहेको खनालको बुझाइ छ ।
सरकारलाई क्षेत्रगत रूपमा काम गर्न र कुन क्षेत्र पहिले सम्हाल्ने भनेर मिसन नै बनाएर लाग्नुपर्ने सुझाव पनि खनालले समितिमार्फत दिएका छन् । अर्थ मन्त्रालयका कामहरू बीचको असन्तुलनलाई पनि खनालले आर्थिक संकटको अवस्था सिर्जना हुनुसँग जोडेर विश्लेषण गरेका छन् । ‘अर्थ मन्त्रालय आफैं बजेट विनियोजन गर्ने, आफैं कार्यान्वयन तथा खर्च गर्ने, अनुगमनको काम पनि त्यतैबाट हुन्छ, अनि आफैं खर्च कम भएको भनेर उसैले भनिरहेको छ,’ उनले भने, ‘स्थानीय तहले कार्यान्वयन गर्न सक्ने साना आयोजना पनि आफैं ओगटेर बसेको छ । खर्च प्रणालीलाई ट्र्याकिङ गर्ने हो भने यस्ता अनेकौं समस्या देखिन्छन् ।’
गम्भीर संकटउन्मुख अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र राजनीतिक खिचातानीको छायामा परेको अर्का अर्थशास्त्री पोषराज पाण्डेको भनाइ छ । ‘राजनीतिका अगाडि अर्थतन्त्र निरीह र लाबारिस भएको महसुस भएको छ । यस्तो जटिल अवस्थामा पनि कसैले चासो देखाइरहेका छैनन्,’ पाण्डेले भने । सरकारी निकायले नै सूचकहरू तोडमतोड गरेर प्रस्तुत गरेको र आफ्नो प्रतिरक्षाका लागि अविश्वसनीय आधार देखाइरहेको उनले बताए । ‘अर्थतन्त्रको प्रस्तुतीकरण यथार्थवादी हुनुपर्छ । तर अर्थमन्त्रीले अहिले पनि ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छु भन्दै हिँड्नुभएको छ,’ उनले भने ।
अर्थशास्त्री चन्द्रमणि अधिकारीले कोभिड महामारीका कारण विश्व अर्थतन्त्र नै खुम्चिरहेका बेला त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताए । ‘विश्वको बदलिँदो आर्थिक परिदृश्यको असर स्वाभाविक रूपमा नेपाली अर्थतन्त्रमा पनि देखिन्छ । विश्वव्यापी मुद्रास्फीतिको समस्याको असर नेपालमा पनि देखिन्छ,’ उनले भने । विदेशी मुद्रा सञ्चिति बढाउन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर जाने, यसको निर्क्योल सरकारले तत्काल गर्नुपर्ने पनि अधिकारीको भनाइ छ । ‘विप्रेषण, वस्तु तथा सेवाको निर्यात, पर्यटन, वैदेशिक लगानी र वैदेशिक अनुदान, विदेशी मुद्रा सञ्चिति बढाउने मुख्य क्षेत्र हुन् । यसमा नेपालले प्राथमिकताको क्षेत्र पहिचान गरेर जानुको विकल्प छैन ।
पुँजीगत खर्च धेरै भएका मन्त्रालयलाई उनीहरूले खर्च गर्न नसक्नुका कारणबारे जानकारी लिन अर्थ समितिले आइतबार बैठक बोलाएको छ । पुँजीगत खर्च लक्ष्यअनुरूप हुन नसक्नुलाई सरकारको कमजोरीका रूपमा देखाउने मात्र नभई सम्बन्धित लेखा अधिकारीलाई त्यसको जिम्मेवारी लिन लगाउनुपर्ने बहस पनि सुरु भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा राखिएको व्यवस्थाअनुसार सम्बन्धित लेखा अधिकारी नै बजेट खर्चका लागि जिम्मेवार हुनुपर्ने कानुनी व्यवस्था छ ।

अर्थ वाणिज्य

भेरी–बबईमा सुल्झियो मुआब्जा विवाद

- चाँदनी कठायत

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम) सम्बन्धी काम सुरु भएको छ । यसका लागि चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९ सय १६ रुपैयाँमा सम्झौता गरिएको छ । हाइड्रोमेकानिकल इन्जिनियरिङको काम सुरु गर्न यो सम्झौता भएको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए ।
अहिले आयोजनाको दोस्रो चरणअन्तर्गत सिभिलतर्फका काम भइरहेका छन् । सिभिलअन्तर्गत हेडवर्क्स, पावरहाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टको काम भइरहेको हो । लामो समय वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट बाहिर निकाल्ने काम पनि भइरहेको उनले जानकारी दिए । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम सुरु भइरहेको छ,’ उनले भने, ‘कामलाई जतिसक्दो छिटो सक्न एक दिन पनि नरोकी काम गरिरहेका छौं ।’
आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले कात्तिक महिनासम्म वित्तीय प्रगति ३८.२४ तथा भौतिक प्रगति ४९ प्रतिशत हासिल भएको जनाएको छ । सरकारले आयोजनाका लागि चालु आवमा पुँजीगततर्फ विनियोजन गरेको बजेट ३ खर्ब ४ करोड ६ लाख रुपैयाँमध्ये १० करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद पनि टुंगिएको छ । केही साताअघि बसेको संघीय मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको आयोजनाका सूचना अधिकारी सुवेदीले बताए । यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजना स्थलका बासिन्दा आन्दोलित थिए ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको छ । उक्त ब्यारेज १ सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमि २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।
आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/ ८० मा सक्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करिब ८ सय मिटर डाइभर्सन गरिएको छ ।

Page 8
कला र शैली

लोककलामा समय–चक्र

मिथिला कलामा समय–चक्र वर्णनलाई फरक आयामबाट प्रस्तुत गर्न पोख्त सुमनले प्राचीन समयदेखि कोरोनाकालसम्म समाज कसरी अघि बढेको छ, मानिसले के पायो र गुमायो भन्ने चित्रमा देखाएका छन्
- सुशीला तामाङ

आफ्नो सिर्जनाका साथ कलाकार एससी सुमन । तस्बिर : सुशीला/कान्तिपुर 

पृथ्वीमा हरेक वस्तु, मान्छे तथा उसका क्रिया प्रतिक्रियाहरू समयको चक्रसँगै परिवर्तित हुँदै गए । विकासक्रममा मानव समाजको सिकाइ, भोगाइका जति धेरै पाटाहरू छन्, त्यति नै छन् कथाहरु । समाज, धर्म, संस्कृतिसँग जोडिएर मानव जाति निरन्तर समयको गति पछ्याउँदै अगाडि बढेको मान्यता राख्छन् चित्रकार एससी सुमन (सुबोधचन्द्र दास) ।
बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनै सुमनको यतिबेला एकल चित्रकला प्रदर्शनी लिएर उभिएका छन् । दुई दर्जनभन्दा बढी मिथिला चित्रमा उनले सत्ययुगदेखि कलियुगसम्मको मान्यता राख्ने धार्मिक तथा सामाजिक पक्षसँग जोडिएको समयको चक्रलाई चित्रण गरेका छन् । विशेष गरी मिथिला कलालाई आधार बनाएर उनले मैथिल तथा अन्य समाजको समकालीन मुद्दालाई उठान गर्दै आएका छन् । उनका चित्रहरूमा मिथिला समाजको लोक परम्परा, धर्म, संस्कृतिसँगै काठमाडौं तथा सिंगो प्रकृतिमाथि भएका अतिक्रमणका कथा छन् ।
लोककलामार्फत समाजले भोगेका प्रत्येक युगका कथा र अनुभवलाई प्रस्तुत गरिएको चित्रकार सुमन बताउँछन् । ‘मेरा अधिकांश चित्र लकडाउनको समयमा सिर्जना भएका हुन्,’ उनले भने, ‘जुन समयमा मैले मानव समाज, धर्म, प्रत्येक युगका कथा अध्ययन गर्ने मौका पाएँ । त्यही अध्ययनपछि नै कथालाई चित्रमा उतार्ने काम गरें ।’ अधिकांश चित्रमा प्रकृति, महिला र धर्मलाई इंगित गर्दै उनले ती समग्रमा युगअनुसार आएका कथा वर्णन गरेका छन् । चित्रहरूमा उनले सत्ययुगमा धर्म र आस्थामाथि जोडिएको एक सुन्दर संसारको समयलाई चित्रण गरेका छन् । रामायण, राम वनवाससँगै त्यो समयको समाजमा जोडिएका क्रोध, सत्तासँगै सामाजिक नियमलाई देखाएका छन् । त्यस्तै द्वापर युगमा महाभारत तथा कृष्णसँग जोड्दै मानव समाजमा हराउँदै गएको मानवतालाई इंगित गरेका छन् । कलियुगको समयलाई भने उनले हालको महामारीसम्मको अवस्थालाई समेत जोडेका छन् ।
यसलाई उनले ‘लकडाउन ब्लुज’, ‘कोभिड लेसन्ज’ जस्ता शीर्षकमा सिर्जना गरिएका चित्रमा प्रस्ट पारेका छन् । उनले भने, ‘लकडाउन वास्तवमा हामी सबैका लागि समय र हामी आफैंलाई चिन्ने समय थियो । मैले पनि सबै युगको अध्ययनसँगै त्यसभित्रको धर्म, परम्परा, संस्कृति सबै पक्षहरूलाई मिहिन रूपमा हेरें । यसबीचमा हामी कति परिवर्तन भयौं त भन्ने कुरा मनमा सोच्दै गर्दा चित्रहरू बने ।’
सुमनका चित्र मिथिलाका पराम्परागत शैलीबाट विविधता पस्किने पाराका छन् । वर्णनमा उनले फरक आयाम प्रस्तुत गर्ने दक्षता देखाएका छन् । उनले चित्रहरूमा समयसँगै मिथिला समाजमा परापूर्वकालदेखि नै चल्दै आएका धर्म संस्कारलाई उतारेका छन् । छठ, गौरी, गणेश पूजा, दशमी मेला, कोहबर घरलगायतको मैथिल समाजको धार्मिक तथा सांस्कृतिक पक्षलाई उनले चित्रमा उठान गरेका छन् ।
यससँगै प्रकृति अतिक्रमणतिर संकेत गर्दै संरक्षणतर्फ सचेतनाका लागि उनले मानव, जीवजनावर, रूखबिरुवाको सम्बन्धलाई दर्शाउन चित्रमार्फत नै प्रयास गरेका छन् ।
‘विमेन एन्ड वाटर’, ‘इकोलोजिकल ब्यालेन्स इन नेचर’ सिरिजका चित्रहरूले समाजलाई समयको चक्रसँगै जति परिवर्तन हुन खोजे पनि प्रकृतिलाई माया गरौं भन्ने सन्देश छोडेका छन् । ‘मानिसहरू आज सत्ता प्राप्ति र स्वार्थका लागि मात्र अगाडि बढेका छन् । सत्ययुगमा जस्तो देवताप्रतिको विश्वास, सुन्दर प्रकृति अहिले छैन ।
प्रकृति जननी हो, हामीलाई जिउन सिकाउँछ । आज भइरहेको अतिक्रमणले मनमा छोएको छ,’ उनी दुखेसो गर्छन् । अहिलेको हाम्रो अनिवार्य मास्क प्रयोगको अवस्था प्रकृतिमाथि अतिक्रमणको परिणामका रूपमा उनी लिन्छन् ।
समयको गतिअनुसार चलेको समाजमा लैंगिक एकता तथा सिर्जना, महिला र प्रकृतिको समानता, समयको चक्रसँगै पृथ्वीमा आएका शक्ति तथा आस्थाका विघटन, त्यसबाट आएका परिणामलाई समेत उनले प्रतीकात्मक रूपमा चित्रहरूमा केलाएका छन् । परिवर्तित युगलाई पछ्याउँदै गइरहेका द्वन्द्वात्मक मानव समाजलाई सत्ययुगतिर फर्केर आफ्नै समयचक्र अनुभव तथा बोध गर्न लगाउनु कला सिर्जनाको मुख्य ध्येय रहेको उनी सुनाउँछन् ।

कला र शैली

पाँचथरमा च्याब्रुङका ताल

- लक्ष्मी गौतम

लोकबाजा र नृत्य संरक्षण गर्न सरकारी तबरबाट प्रयास सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले विभिन्न जातजातिको संस्कृतिमा आधारित नृत्यप्रति युवापुस्तालाई आकर्षित गर्न प्रशिक्षण थालेको हो ।
प्रतिष्ठानले पाँचथरमा लिम्बू संस्कृतिमा आधारित लोक नृत्य च्याब्रुङको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । यसमा पाँचथर, तेह्रथुम र ताप्लेजुङका २२ युवालाई प्रशिक्षण दिइएको छ । लोकनाचप्रति युवा पुस्तालाई जानकार गराउँदै संस्कृति जगेर्नाका लागि प्रशिक्षण चलाउनुपरेको प्रतिष्ठानका सचिव अशोक लोहोरुङले बताए । च्याब्रुङसहितका लोक नृत्य संरक्षणका लागि जातीय र समुदाय स्तरबाट पहल भइरहे पनि सरकारी तवरबाट भएको थिएन । प्रतिष्ठानले पहिलो पटक प्रशिक्षक झिकाएर सैद्धान्तिक र व्यावहारिक रूपमा च्याब्रुङ कक्षा चलाएको हो ।
सुर र तालसँगै लयबद्ध ढंगले च्याब्रुङ नाच्न सिकाइनुका साथै इतिहास र निर्माणसम्बन्धी सैद्धान्तिक ज्ञान दिइएकाले प्रशिक्षण उपलब्धिमूलक भएको फिदिम–५ की सहभागी सुम्जिरी तुम्बापोले बताइन् ।
१० दिने प्रशिक्षण मंगलबार सकिएको छ । प्रदेश १ मा च्याब्रुङबाट सुरु गरेको प्रतिष्ठानले अन्य प्रदेशमा बसोबास गर्नेको बाहुल्यताका आधारमा डम्बु, बिनायो, मुर्चुङ्गा, हुर्रा र देउडा जस्ता नृत्यमा प्रशिक्षण दिने जनाएको छ । च्याब्रुङ लिम्बू संस्कृतिमा आधारित लोक नृत्य हो । यो नृत्य प्रयोग हुने बाजालाई नेपाली भाषामा च्याब्रुङ र लिम्बू भाषामा ‘के’ भनिन्छ । पुरुषले बाजा बजाउन थालेपछि महिलाहरू सुर र ताल मिलाउँदै नाच्छन् ।

कला र शैली

रंगकर्मी मल्लको निधन

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । श्वासप्रश्वासको समस्याले पीडित ८८ वर्षीय मल्लको उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो । नाटक निर्देशकसहित लेखक, अभिनेतासमेत रहेका मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । उनले निर्देशन गरेकामध्ये ‘पृथ्वीनारायण शाह’, ‘फर्केर हेर्दा’, ‘पत्थरको कथा’ नाटक चर्चित छन् । मल्लले बालकृष्ण समको नाटक ‘नेपाल कला मण्डल’ बाट नाट्ययात्रा सुरु गरेका थिए ।

कला र शैली

नाटक लेखनमा ८ छानिए

- कान्तिपुर संवाददाता

पोखरा (कास)– गण्डकी र पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने नाटक लेखन कार्यशालामा देशभरबाट ८ जना छनोट भएका छन् । पोखरा थिएटरसँगको सहकार्यमा पुस १ देखि हुने १० दिने कार्यशालामा १५ आवेदकमध्येबाट सहभागी छनोट भएका हुन् । कार्यशालाको सहजीकरण रंगकर्मी खगेन्द्र लामिछानेले गर्दै छन् । कार्यशालाका लागि आवेदन खुलाइएकोमा आवेदकले नाटकको नमुना
बुझाएका थिए । उक्त नमुना नाटक हेरेर प्रशिक्षक लामिछानेले सहभागी छनोट गरेका हुन् । छनोटमा परेकाहरूमा गुल्मीकी रीता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी, कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जीसी र रोशनी श्रेष्ठ छन् ।

 

Page 10
खेलकुद

निषेधको क्रिकेट राजनीति

खेलाडीहरु क्यानको अस्तित्व स्विकार्नै खोज्दैनन्, क्यान पनि भरसक खेलाडीलाई सामना गर्न नपरोस् भन्ने चाहन्छ
- विनोद पाण्डे

अनुशासन कारबाहीमा परेका क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी शुक्रबार पत्रकार सम्मेलनमा । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

यूएईमा अर्को साता हुने यू–१९ एसिया कपअघि नेपाली यू–१९ टोली अभ्यासका लागि खेल्न व्यग्र थियो । यस्तैमा काठमाडौंमा उपलब्ध राष्ट्रिय टोलीका खेलाडीसँग बिहीबार यू–१९ टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्ने निधो भयो । श्रीलंका र बंगलादेशको यू–१९ सँग यूएईमा समूह चरणको खेल खेल्नुपर्ने हुनाले नेपाली यू–१९ का लागि यो खेल निकै महत्वपूर्ण हुन सक्थ्यो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राति नै अनुशासन उल्लंघन गरेको भनी राष्ट्रिय टोलीका ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटायो । सँगै ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि सेन्ट्रल कन्ट्र्याक्टबाट हटाइसकेको थियो ।
राष्ट्रिय टोलीका यी खेलाडीको समर्थनमा अन्य खेलाडीहरू सामाजिक सन्जालमा उत्रिइसकेका थिए । उनीहरूको कारबाहीको विरोधमा विनोद भण्डारी, करण केसी, अविनाश बोहरा, रोहित पौडेल, कुशल भुर्तेललगायतका खेलाडीले सामाजिक सन्जालमा ‘मलाई पुग्यो’ भन्दै अभियान चलाए । त्यसको प्रभाव भोलिपल्ट कीर्तिपुर मैदानमा देखिहाल्यो ।
यू–१९ टोली मैदानमा अभ्यास खेल्न पुग्दा अर्को टोली थिएन । अर्थात राष्ट्रिय टोलीका खेलाडीहरू अभ्यासमै थिएनन् । चार खेलाडीको कारबाहीको जवाफमा अरूले नखेल्ने निर्णय गरेका थिए । जसका कारण यू–१९ टोलीले अभ्यास खेल खेल्न पाएनन् । भोलिपल्ट (शुक्रबार) राष्ट्रिय टोलीका लागि ढोका ढकढक्याइरहेका काठमाडौंमा उपलब्ध खेलाडीलाई जम्मा गर्दै यू–१९ टोलीसँग अभ्यास खेल खेल्ने अर्को टोली र तालिका बनाइयो । बिहीबार साँझ नहुँदै त्यो अभ्यास खेल पनि अघिल्लो दिनजस्तै नहुने निर्णय आयो । मैदानमा उत्रने तयार खेलाडीहरू पनि ‘लगातारको दबाबयुक्त फोन’ पछि खेल्न नसक्ने भएको सुनाइरहेका थिए ।

अर्जुन कुमाल, देव खनाल, अर्जुन साउद, दुर्गेश गुप्ता, वासिर अहमद, प्रकाश जैसीजस्ता ठूलो सम्भावना बोकेका यू–१९ का खेलाडीहरू राष्ट्रिय टोलीका खेलाडीसँग अभ्यास खेल खेल्न योग्य थिएनन् ? नयाँ प्रशिक्षकका रूपमा पुबुदु दासानायके नेपाल आउनै लागेका तथा ट्वान्टी–२० विश्वकप छनोट आउन दुई महिनामात्र बाँकी रहेको अवस्थामा स्वयं राष्ट्रिय खेलाडीका लागि पनि यो अभ्यास खेल ‘टच’ मा बस्न उपयोगी हुनसक्थ्यो । तर यू–१९ सँग म्याच खेल्न वञ्चित गराएर फाइदा कसलाई भयो ?
नेपाली क्रिकेटमा निषेधको राजनीति कुन हदसम्म छ भन्ने यो एउटा ज्वालन्त उदाहरण हो ।
खेलाडीले होस् वा संघ, एकले अर्कालाई खुइल्याउन पछि पर्दैनन् । खालि एउटा बहाना कुरेर बसेका हुन्छन् । ‘आफू भएमा सबै ठीक होइन भने सबै गलत’ भन्ने भावले दुवै पक्ष ग्रसित देखिँदै आएको छ । ‘अर्काको काँधमा बन्दुक भिराएर पड्काउने’ रणनीति खेलाडीमा देखिन्छ भने ‘कुनै पनि बहानामा खेलाडीलाई कारबाही गरौं’ भनेर क्यान कुरिरहेको हुन्छ ।
खेलाडीको सेन्ट्रल कन्ट्र्याक्टको वर्गीकरणलाई लिएर धेरै विवाद आइरहेको छ । पछिल्लो विवाद पनि यही वर्गीकरणमा आएर ठोक्किएको छ । लगातर विवाद आएपछि क्यानले यसको पुनर्विचार गर्नुपर्थ्यो । क्यानका अधिकांश समितिहरू कार्यसमितिमातहात नै छन् । जस्तो वर्गीकरण समितिमा पूर्वखेलाडीहरू राखेको भए यो अझ बलियो बन्न सक्थ्यो र विवाद कम आउन सक्थ्यो । तर पूर्वखेलाडीलाई कुनै पनि समितिमा राख्दा क्यान अंश नै दिनुपर्ने जस्तो व्यवहार गरी सबै आफ्नो नियन्त्रणमा राखिरहेको हुन्छ, जसरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानको आर्थिक पक्षलाई नियन्त्रण गरेको छ ।
संघको काम अभिभावकको भूमिका निभाउनु हो । क्यानले अभिभावकको भूमिकामा खेलाडीलाई अनुशासनमा राख्दै आफ्नो क्षमताअनुरुप सुविधा पनि दिनुपर्छ । संस्थालाई उकास्ने काम खेलाडीकै हुन्छ । अनुशासनबाहिर रहनेलाई कारबाही गर्न चुक्ने हो भने क्यानले एकपछि अर्को सम्झौता गर्दै जानुपर्ने हुन्छ । विगतका छुटले अहिले विकराल रूप लिइरहेको कुरामा कुनै दुईमत हुन सक्दैन ।
खेलाडीले जसरी मिडियामा गएर खेलाडी वर्गीकरणको विरोध गर्दा कारबाहीमा परेका छन्, त्यो क्यान पदाधिकारीमा पनि लागू हुनुपर्छ । जसरी खेलाडीलाई बटुलेर कप्तान ज्ञानेन्द्रले जबरजस्ती हस्ताक्षर गराएको भन्ने आरोप क्यानले लगाएको छ । क्यानले पनि केही खेलाडीलाई हस्ताक्षर नगर भनेको पनि हुनसक्ने धेरै आधार छ । कप्तान रहेकै समयमा क्यानले ज्ञानेन्द्रमाथि खेलाडीको गुट बनाएको भनिएको छ । त्योभन्दा ठूलो गुट क्यानमै देखिएको छ । खेलाडीलाई आरोप लगाउनुअघि क्यानले आफ्नै गुटको समाधान खोज्नुपर्ने हो ।
घरेलु क्रिकेट संरचना एकदिवसीय अन्तर्राष्ट्रियअनुरुप बनाउन लाग्नुपर्ने समय हो क्यानको । महिला क्रिकेट टोलीको प्रायोजन अझै क्यानले पाउन सकेको छैन । यू–१६ का महिला र पुरुष राष्ट्रिय प्रतियोगिता नभएको धेरै भइसक्यो । ग्रासरुटमा यस्ता प्रतियोगिता अभावले राष्ट्रिय टोलीको संरचनामा असर पर्न थालिसकेको छ । उमेर समूहदेखि राष्ट्रिय टोलीको एक्सपोजरमा क्यानको ध्यान तानिनुपर्छ । मैले गरेको सबै ठीक छ भन्ने मान्यता क्यानले त्याग्न सक्नुपर्छ । कारबाहीमा परेका चार खेलाडीले शुक्रबार पत्रकार सम्मेलन गरेर यसमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । यदि दुवै पक्षले नेपाली क्रिकेटको हित चाहने हो भने एक कदम पछाडि हटेर निर्णय लिन जरुरी छ । दुवै पक्षले संवादको वातावरण निर्माण गर्नुपर्ने हुन्छ ।

चतुरबहादुर चन्दको नेतृत्वमा क्यान सञ्चालनमा आएयता २०७७ को असोज ६ गते चितवनमा बसेको साधारणसभामार्फत महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण सार्वजनिक गरिएको थियो । त्यसको १० दिनपछि नै त्यसमा ‘राजनीति’ छिरिसकेको थियो । त्यतिखेरदेखि खेलाडीहरूले वर्गीकरणको विरोध गर्दै आएका थिए । खेलाडीहरूको आडमा रमेशकुमार सिलवालको नेतृत्वमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानसँग वर्गीकरणमा के–के विभेद भएको भन्दै स्पष्टीकरणसमेत सोधेको थियो ।
पहिलो, राखेपले अन्य झन्डै २ सय राष्ट्रिय संघलाई काम कारबाहीमा यस्तै प्रश्न गर्न सक्छ ? यदि सक्छ भने १५–२० वटा बाहेकका राष्ट्रिय संघ राखेपको यो कार्यशैलीमा स्वतः खारेज हुन्छन् । राखेपजस्तो देशको प्रमुख खेल संस्था कसैको आडमा नलागी राष्ट्रिय खेल संघलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न दिनुपर्छ । राखेपसँग जोडिएको विषयमा मात्र राखेपले संघहरूसँग समन्वय गर्नुपर्छ ।
खेलाडीहरू राखेपमा जानु पछाडिको कारण उनीहरू क्यानको अस्तित्व स्वीकार्न नसकेकाले हो । क्यान पनि भरसक खेलाडीलाई सामना गर्न नपरोस् भन्ने चाहन्छ । दुवै एकअर्काको छायासमेत हेर्न चाहँदैनन् । यसै कारण पनि क्रिकेटमा पछिल्लो समय राजनीतिक रंग देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेलाडीमाथिको कारबाही फिर्ता गराउन लागिपरेका छन् । त्यसका लागि उनी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै क्रिकेट खेलाडीमाथिको कारबाही पुनर्विचार गराउन आग्रह गरेर फर्किए ।
दाहालसामु यो समस्या कसले पुर्‍यायो नेपाली क्रिकेट वरिपरि रहेका धेरैलाई बुझ्न गाह्रो नपर्ला । क्रिकेटमात्र नभई खेलक्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ । क्यानजस्ता खेल संघमा रहेका समस्या ती संघ आफैंले समाधान गर्नुपर्छ । क्यानलगायत संस्थालाई नियमन गर्ने अन्तर्राष्ट्रिय खेलसंस्थाको एउटा स्पष्ट निर्देशन छ, ‘खेलकुदमा राजनीति हस्तक्षेप कदापि स्वीकार हुन्न ।’
क्यानले चार खेलाडीमाथिको कारबाही आईसीसीलाई जानकारी गराइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले क्यानको निर्णय उल्टाउन खोजेमा कस्तो परिणाम निस्केला ? सन् २०१६ मा आईसीसीले राजनीतिक हस्तक्षेपलगायतका विषयपछि क्यानलाई निलम्बन गरेको ठूलो नजिर नै छ, जुन अझै पूर्ण रूपमा फुकुवा हुन सकेको छैन ।

खेलकुद

आर्मी र मछिन्द्र रोकिए

- कान्तिपुर संवाददाता

संकटाका दुई खेलाडीको बीचबाट बल निकाल्दै मछिन्द्रका सुनील बल (सेतो) । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर 

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएर पनि मछिन्द्रले गत वर्ष देशको प्रतिनिधित्व गर्दै एसियाली क्लब फुटबलकै प्रतिष्ठित प्रतियोगिता खेल्न पाएन । कारण मछिन्द्रसँग एएफसी क्लब लाइसेन्स थिएन । त्यसको प्रत्यक्ष फाइदा आर्मीलाई भयो । लिग च्याम्पियन क्लबले पाउने अवसरमा उपविजेता भए पनि आर्मीले देशको प्रतिनिधित्व गर्दै एएफसी कपको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेको थियो ।
गत सिजन (सन् २०२१) का लागि एएफसी क्लब लाइसेन्स पाएको एक्लो नेपाली क्लब आर्मी नै थियो । यसपालि आर्मीसँगै मनाङ मर्स्याङदी, मछिन्द्र र एपीएफ क्लबले लाइसेन्स पाएको छ । त्यसको मतलब यी चार नेपाली क्लब एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्न योग्य भएका छन् । फेरि सप्ताहन्त लिगको अवधारणा ब्युँताइएको यो सिजनको लिग एएफसी कप २०२२ सुरु हुँदा पनि सकिने छैन । त्यसैले एन्फाले सातौं चरणभित्र शीर्षस्थानमा रहने क्लबले एएफसी कप खेल्ने जनाएको छ ।
सिजनको सुरुआती चरणमा गरेका प्रदर्शनले एपीएफका लागि भने क्लब लाइसेन्स भएर पनि एएफसी कप खेल्ने सम्भावना सपना नै भइसकेको छ । चार खेलमा १ अंक जोडेको एपीएफ पुछारमा छ । दशरथ रंगशालामा शुक्रबार मछिन्द्रले संकटाविरुद्ध गोलरहित खेल्दै अंक बाँडेसँगै औपचारिक रूपमा एपीएफको एएफसी कपमा छनोट हुन सम्भावना सकिएको हो । हुन त एपीएफ त्यो सम्भावना भएको टिम पनि होइन, जसलाई ‘ए’ डिभिजनमै टिक्न पनि गाह्रो देखिएको छ । शुक्रबारकै अर्को खेलमा आर्मीले सातदोबाटो युवा क्लबसँग १–१ खेल्दै अंक बाँड्यो, जसले आर्मीलाई उपाधि होडसँगै एएफसी कपको छनोटमा अगाडि बढ्न गाह्रो बनाएको छ ।
त्यसैले मछिन्द्र र आर्मी बराबरीमा रोकिएको फाइदा मनाङले लिन सक्छ । घरेलु भूमिका रूपमा पोखरा रंगशालालाई रोजेको मनाङले पुलिसविरुद्ध शनिबार खेल्दै छ, जसमा ३ अंक जोड्न सके मनाङ शीर्षस्थानमा उक्लिने छ । मछिन्द्र (११ अंक) शीर्षस्थानमा छ । एक खेल कम खेलेको मनाङ एक अंक अन्तरमा दोस्रोमा छ । यो लिगमा आर्मी र संकटा पनि अपराजित छन् । दुवैको खातामा ९–९ अंक छ । राम्रो गोलअन्तरका आधारमा आर्मी तेस्रोमा छ ।
एएफसी कपमा छनोट हुने अभियानमा रहेका मछिन्द्र, मनाङ र आर्मी जम्मा २ अंकको दूरीभित्र छन् । त्यसैले मनाङले पोखरामा पुलिसविरुद्ध जित निकाल्न सकेन भने छनोटको यो प्रतिस्पर्धा अझै रोमाञ्चक हुनसक्छ । छैटौं चरणमा मनाङ र मछिन्द्र भिड्दैछन् भने आर्मीले थ्रीस्टारविरुद्ध खेल्नेछ ।
यो लिगमा दोस्रोपल्ट बराबरीमा रोकिएपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कपको सम्भावनाबारे भने, ‘त्यसका लागि अझै दुई खेल छ ।’ कप्तान सुजल श्रेष्ठ (चोट कारण) को अनुपस्थितिमा सोचेअनुसार प्रदर्शन गर्न नसकेको उनले बताए । संकटाका प्रशिक्षक विष्णु गुरुङले आफ्नो टिम ३ अंकका लागि योग्य भए पनि गोल नगर्दा जित्न नसकेको प्रतिक्रिया दिए ।
पहिलो खेलको सुरुमै दुई गोल निस्कियो । काउन्टर अट्याकमा टेकबहादुर बुढाथोकीको क्रसमा जगजित श्रेष्ठले ‘फ्लिक’ गरेको बललाई दिनेश हेन्जनले सहजै गोल गर्दै आर्मीलाई १० औं मिनेटमै अग्रता दिलाए । तर, अजयी मार्टिन्सले लिगमा आफ्नो चौथो गोल गर्दै १६ औं मिनेटमै सातदाबाटोलाई १–१ को बराबरीमा पुर्‍याए । उनले गोलकिपर अभिषेक बरालले दिएको बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्रमा पुर्‍याएर स्तरीय गोल गरे ।

खेलकुद

मनाङ र पुलिसको विश्वास

- कान्तिपुर संवाददाता

पोखरा (कास)– नकआउटका प्रतियोगितामा पोखराको मैदानमा थुप्रैपल्ट आमनेसामने भएका मनाङ मर्स्याङ्दी र पुलिस क्लब शनिबार ‘ए’ डिभिजन लिगमा पहिलोपल्ट भिड्दै छन् । राजधानीबाहिर पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिगको ऐतिहासिक खेल जित्नेमा दुवै टिम आत्मविश्वासी छन् ।
पोखरामा मनाङका समर्थकको बाहुल्य छ । तर, पुलिसका लागि पनि पोखरा रंगशालाको मैदान ‘भाग्यशाली’ छ । आहा–रारा, मनकामना कपलगायत प्रतियोगितामा पुलिसले मनाङलाई हराएर उपाधि उचालेको छ । यसरी हेर्दा जसरी मनाङको होम ग्राउन्ड पोखराको मैदान हो, त्यसरी नै पुलिसले पनि आफ्नै मैदानको दर्जामा राखेको छ ।
शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक जित निकाल्नेमा ढुक्क देखिए । पुलिसका प्रशिक्षक अनन्त थापा मनाङलाई सशक्त विपक्षी मान्छन् । ‘मनाङ आफैमा लिगको टपमा भएकाले पर्फमेन्स राम्रो छ तर मनाङलाई हामीले जहिले कठिन चुनौती प्रस्तुत गरेका छौं,’ उनले भने, ‘अबको खेलमा पनि रणनीतिक रूपमा एउटा प्लानमा आएका छौं । जित्नका लागि खेल्ने छौं ।’
लिगमा ‘होम एन्ड अवे’ को अवधारणा आउनुले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनी ठान्छन् । पोखरा मनाङको घरेलु मैदान भए पनि आफ्नो टिम भाग्यशाली साबित भएको उनले दोहोर्‍याए ।
मनाङले प्रतिभावान खेलाडीले भरिएको, विदेशी खेलाडीसमेत भएको व्यावसायिक टिमका रूपमा आफूलाई स्थापित गरे पनि मैदानमा ९० मिनेट ती सबै कुरा बिर्सिने उनले बताए । स्ट्राइकर नीरकुमार राईको साथले मनाङसँग आक्रामक खेल्ने उनको रणनीति छ । नाम चलेका खेलाडीले शतप्रतिशत दिएर खेलुन् भन्ने उनी चाहन्छन् ।
उता मनाङमा भने तीन विदेशी खेलाडीले सोचेअनुरुप खेल्न नसकेको चर्चा हुने गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङ त्यस्तो आरोपको खण्डन गर्छन् । ‘पहिलो म्याचमा केही कमजोरी देखिएको हो । त्यसपछिका ३ म्याचमा नराम्रो खेलेको भन्न मिल्दैन,’ उनले भने, ‘पर्फमेन्स राम्रो छ, फरवार्डले धेरै गोल गर्न नसकेको भन्ने होला ।’ पुलिसलाई बलियो प्रतिस्पर्धी उनले मानेका छन् । उनले पुलिसविरुद्ध जित हासिल गर्न राम्रैखाले योजना बनाएको सुनाए । घरेलु दर्शकको समर्थन आफ्ना लागि ऊर्जा हुने उनले बताए ।

खेलकुद

राष्ट्रिय महिला क्रिकेट आजदेखि

छोटकरी
- कान्तिपुर संवाददाता

धनगढी (कास)– प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता शनिबार धनगढीमा सुरु हुँदै छ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा एपीएफ क्लबसहित सातै प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको समन्वयमा गर्दै छ । लिगकम नकआउटमा हुने प्रतियोगिता पुस ११ सम्म चल्नेछ । सुदूरपश्चिम क्रिकेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार ८ टिमलाई दुई समूहमा राखेर प्रतिस्पर्धा गराइने छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी, वाग्मती र कर्णाली छन् भने समूह ‘बी’ मा एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ छन् । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ द सिरिजलाई २५ हजार र हरेक प्लेयर अफ द म्याचले २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । शनिबार कर्णाली र प्रदेश १ तथा वाग्मती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछन् ।

खेलकुद

रन फर प्रोटिन आज

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल भेटिनरी एसोसिएसनको आयोजनामा रन फर प्रोटिनको नारासहित शनिबार हाफ म्याराथन हुँदै छ । प्रोटिनको महत्त्व र प्रोटिनमाथिको अधिकार स्थापित गर्ने उद्देश्यले आयोजित दौडमा करिब २ हजार जनाको सहभागिता रहनेछ । दशरथ रंगशालाबाट सुरु हुने दौडलाई नेपाल एथ्लेटिक्स संघले प्राविधिक सहयोग गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा जनाइएअनुसार खुला हाफ म्याराथन (पुरुष) मा ३१३, खुला हाफ म्याराथन (महिला) मा ४२, पुरुष १० किमि दौडमा ६९०, महिला ५ किमिमा २७०, कक्षा १२ सम्मको ५ किमि दौडमा छात्रतर्फ ३७० र छात्रातर्फ ३ किमि दौडमा २३३ जनाको सहभागिता रहने छ । ह्वीलचियर रेसमा १८ जनाको सहभागी छन् । कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ हो । खुलातर्फ महिला र पुरुष विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

खेलकुद

रबिना च्याम्पियन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पहिलो नेपाल एपीएम ओपन टेबलटेनिस च्याम्पियनसिपमा वुमेन्स सिंगल्सको उपाधि शुक्रबार आर्मीकी रबिना महर्जनले जितेकी छन् । उनले फाइनलमा आर्मीकै दिया देउलालाई सिधा चार सेटमा हराइन् । एकपक्षीय खेलमा रबिना ११–३, ११–४, ११–४, ११–३ ले विजयी रहिन् ।
यसअघि सेमिफाइनलमा रबिनाले आर्मीकै सुस्मिता खड्कालाई ११–५, ११–३, ८–११, ११–६ ले र दीयाले पुलिसकी सोनु थापा मगरलाई ३–११, ११–८, ११–५, ११–७ ले पराजित गरेका थिए ।

खेलकुद

मेयर कप भलिबल सुरु

- कान्तिपुर संवाददाता

सिन्धुली (कास)– सिन्धुलीमा शुक्रबार सुरु प्रथम मेयर कप कमलामाई नगरस्तरीय भलिबलको उद्घाटन खेलमा वडा नम्बर १० ले वडा १ लाई सोझो सेटमा हराएको छ । ११ वडाको सहभागिता सहभागी प्रतियोगिता विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

खेलकुद

प्रवेश र पूर्णिमा अगाडि

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– १६ औं राष्ट्रव्यापी अन्नपूर्ण विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा १६ वर्षमुनिको उमेर समूहमा आयोजक अन्नपूर्ण उमाविका प्रवेश लामा र त्रियोग हाइस्कुलकी मार्शल तामाङ समान ४ अंकसाथ अगाडि छन् । १४ वर्षमुनि बीएन एकेडेमीकी पूर्णिमा गुरुङ र तिलिङ्गटार माविकी सन्तोषी बिक समान ४ अंकसहित अगाडि रहेका छन् । स्पर्धामा विभिन्न उमेर समूहमा २४ स्कुलबाट १ सय २० छात्रछात्राले प्रतिस्पर्धा गरेका छन् ।

खेलकुद

पोखरा र हेटौंडा भिड्ने

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– हेटौंडामा जारी सातौं भेट्रान्स कप फुटबल उपाधिका लागि शनिबार एबीसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा भिड्ने भएका छन् । शुक्रबार सेमिफाइनलमा एबीसीले बानेश्वर भेट्रान्सलाई ४–० गोलले हरायो । एबीसीबाट ९ औं मिनेटमा महेन्द्र गुरुङ र १६ औं मिनेटमा सञ्जय गुरुङले गोल गरेका थिए । ३५ र ३८ औं मिनेटमा हरि खड्काले २ गोल थपेका थिए । म्यान अफ द म्याच हरि खड्का भए । अर्को सेमिफाइनलमा नागस्वतीले बगर भाइखलक ‘ए’ लाई २–० ले हरायो । छैटौं मिनेटमा निमा लामा र ४४ औं मिनेटमा म्यान अफ द म्याच नरेन लिम्बुले गोल गरे ।

Page 11
कोसेली

तीरैतीर पीरैपीर

- रमेश भुसाल

बगरछेउ बसेको मान्छेले नदीको पानी मात्रै प्रयोग गरेन, ढुंगा–बालुवा निकाल्यो, सिमेन्ट बनायो र साम्राज्य खडा गर्‍यो । मान्छेलाई आधुनिक र सभ्यको परिचय दिलाउन सबैभन्दा ठूलो भूमिका खेलेको खोला–नदीमाथि उसले अत्याचार गर्न थाल्यो, नदीले बनाएका चिह्नहरु मेटाउन थाल्यो । अहिले खोलाले अनुमानै गर्न नसक्ने गरी चरित्र बदलेको छ । खोलो आफैं उर्लेको होइन, मान्छेले उरालेको हो, त्यसैले खोलासँग झर्कनुभन्दा तर्कनु बेस ।


मान्छेले नदी–नालाबाट एकै वर्षमा ४० अर्ब टन बालुवा–ढुंगा निकाल्छ र गाउँ–सहर ‘बलियो’ बनाउँछ । ऊ पुल हाल्छ, पर्खाल लगाउँछ, खोला तर्काउँछ र कुलो बनाउँछ । उसले नदीलाई चिथोरेको छ, कोपरेको छ । मानौं नदीहरू उसका खास दुस्मन हुन् ।

सेतो टाउके जलखन्जरी फराकिलो मेलम्ची खोलाको दाहिने किनारमा फुरफुर गर्दै छ । घामले आफ्नो साम्राज्य पहाडहरूबाट बिस्तारै नदी किनारतिर बढाउँदै छ । राजनीतिक भाषामा भन्ने हो भने घाम विस्तारवादी छ, साम्राज्यवादी छ । घाम साम्राज्यवादी भएकै ठीक, विस्तारवादी भएकै ठीक । त्यो विस्तारवाद वा साम्राज्यवादको गति भने पृथ्वीले निर्धारण गर्छ । ऊ
अड्कल्दै घुम्छ र घाम उदाउँदै जान्छ वा अस्ताउँदै ! सोच्छु पृथ्वीले पनि थोरै अल्छी गर्‍यो भने, केहीबेर बिस्तारै घुम्छु भन्यो भने वा आज घुम्दिन भन्यो भने साँच्चै के होला हँ ? फगत प्रश्नै सही, तर यी सोध्नै नहुने प्रश्न पनि त होइनन कि भनेर आफ्नो प्रश्नको ओजन आफैं बढाउने प्रयास गर्छु । म मान्छे न हुँ, आफूलाई सानो बनाउने त मेरो चरित्र नै होइन । एउटा सापियन्स चरित्र !
जे होस् पृथ्वी अहिलेसम्म बडो अनुशासित छ र अर्बौं वर्षदेखि
आफ्नो दैनिकीबाट ऊ विचलित भएको छैन, निरन्तर घुमिरहको छ । त्यसैले घाम–पानी जिन्दगानी भएको छ हामीलाई । खासमा घाम दाता हो, पृथ्वी केवल उपभोक्ता । र, हामी लाखौं प्रजातिमध्येका एउटा उपभोक्ता हौं । तर, अहिले मानिसले उपभोग गरिरहेको छैन, हसुरिरहेको छ । मानिस पृथ्वीको हसुरासुर हो । जान्नेहरू भन्छन्– कतै मानिस हसुरासुरबाट भस्मासुर त बन्ने होइन ? चिन्ता बढ्दो छ ।
यस चिन्ताका पछाडि जायज कारण छन् । मानिसले प्राकृतिक रूपमा रहेका वनजंगल र सबै पशुपन्छी, माछा, कीरा–कीरी, फट्यांग्रालगायतको तौल जोड्दा जति हुन्छ विगतका सय वर्षमा त्योभन्दा बढी सरसामान उत्पादन गर्‍यो, ढुंगा–माटो ओसारपसार गर्‍यो भन्ने आँकडा गत वर्ष आएको छ ।
अनुसन्धानकर्ताअनुसार, सबै प्राणी, वनस्पति र जगत्को तौल ११२० अर्ब टन छ भने मानिसले अहिलेसम्म पृथ्वीमा उत्पादन गरेका वस्तु र संरचना ११५४ अर्ब टन ! त्यसको आधा हिस्सा त कंक्रिटको छ, जसका लागि बालुवा चाहिन्छ । त्यो बालुवा, जसले मानिसलाई सभ्य बन्ने यात्रामा ठूलो गुन लगायो । हो त्यही बालुवा, जो नदीले बनाउँछ वा बगाउँछ ।
यो पृथ्वीमा लगभग ४० अर्ब टन बालुवा–ढुंगा त मानिसले एकै वर्षमा नदी–नालाबाट निकाल्छ र गाउँ–सहर बलियो बनाउँछ, पुल हाल्छ, पर्खाल लगाउँछ, खोला तर्काउँछ, कुला बनाउँछ । यो मेलम्ची पनि त्यही ४० अर्व टन बालुवा–ढुंगा दिलाउनेमध्यको एक नदी हो । बालुवाको जगमा आफ्नो साम्राज्य खडा गरेको मानिसले आज नदीलाई यसरी चिथोरेको, कोपरेको छ कि मानौं उसको खास दुस्मन नदी नै हो । पृथ्वीभरिका ६० प्रतिशत नदीमा त उसले बाँध बाँधेको छ, बिजुली निकालेको छ, टनेल हालेको छ । ‘सभ्य’ बन्दै गरेको सापियन्सले बर्सेनि ४० अर्व टन कार्बनडाइअक्साइड ग्यास वायुमण्डलमा फालेको छ । र, पृथ्वी तताइरहेको छ । यही मेलम्चीको शिर अर्थात् हिमाल पगालेको छ । मानिसले कतै आफैं पुरिने खाल्डो आफैंले खनिरहेको त छैन ?
हेर्दाहेर्दै जलखन्जरीले पुच्छर ढिकी कुटेजसरी ढक्ल्याक्क माथि सार्‍यो र झार्‍यो । र, तिखो सिठी हालेजस्तो आवाज निकाल्यो । यी जलखन्जरीहरू त लोप हुनबाट बचेखुचेका केही प्रजाति न हुन् । यस्ता जलखन्जरी त मानिसले कति लोप पारिसके कति ! र, अझै कतिको उठिबास गराउने हुन् थाहा छैन । तर, जलखन्जरी यसबारे बेखबर छ सायद । केहीबेरमा चील आइपुग्यो । उसको उडाइ बडो राजसी छ, फुरफुर छैन उसमा । चील देखेपछि मुखबाट अनायासै मेरो आवाज निस्किन्छ–
‘आकाशैमा चील उड्यो फनन, मेरो माया छ छैन भन न
ऐंसेलुको पात, ए माया बोल न किन यस्तो लाज !’
मेलम्चीको संगीत र चीलको कावामा मिसियो मेरो स्वर । तर, अहिले मेलम्चीवरिपरिका मानिसलाई उसको आवाज कुनै संगीतजस्तो लाग्दैन, यो त विरहको गीत बनेको छ । पीडाको बर्को ओडेर मेलाम्चीखोला आसपास मानिसहरू टोलाइरहेछन्, अर्को बर्खाको पर्खाइमा । उनीहरूको एउटै कामना छ, अघिल्लो बर्खामा सुनेको मेलम्चीको आवाज फेरि कहिल्यै सुन्नु नपरोस्, कहिल्यै देख्नु नपरोस् । कामना गरौं मेलम्चीले सुन्ला ! तर, उसको आवाज पनि केही मात्रामा सुनिदिएको भए, केही बुझिदिएको भए, उसलाई पेलेरै पर्खाल नलगाइदिएको भए, किनारसम्मै बस्ती नबसाइदिएको भए, उसको जमीन आफ्नो नाममा नामसारी नगरिदिएको भए सायदै यति धेरै विनाश हुँदो हो !
ऊ जब पोखियो तब मानिस सिद्धियो । ऊ यसरी सोहोरिएर आयो, मानौं उसले दशकौंदेखिको रिस साधेर राखेको थियो, बदलाको मौका पर्खेर बसेको थियो । उसका बलले वरिपरिका पहाड झार्‍यो, खेत काट्यो, सयौंको लाजपुर्जा उडायो, नक्सा बिगार्‍यो, जग उखेल्यो । यसलाई मानसिले बाढी भन्ने गरेको छ । असरल्ल परेका बडेमानका ढुंगाहरू हेरिरहेछु र सोध्छु– कत्रो थियो त्यो बाढी हँ ? हिसाब निकाल्नेहरू भन्छन्– त्यहाँ बगेको ढुंगा–माटोले काठमाडौं उपत्यकाको रिंगरोडभित्रको भूभाग लगभग आधा मिटर अग्लो बन्नेगरी पुर्न मिल्छ ।
उडिरहेको चील हेर्छु र ईर्ष्या गर्छु । चीलजस्तो तनक्क हात फैलाएर, टाउको तेर्स्याएर, खुट्टा फिँजारेर उड्न सक्ने भए यो मेलाम्चीको माथि–माथि उडेर हिमालको नजिकै जान्थें । मेरो अघि थुप्रिएको गेग्रायानको उद्गम हो त्यो हिमाल र पहाड । पहाड सधैं उभिएर बस्दैनन्, ती निरन्तर झर्छन् पनि । र, त बनेका छन्– खोलाका बगर, किनारको बालुवा, बारीका पाटा, खेतका गरा, थुम्काथुम्की, लेकबेंसी ! झर्नु पनि पहाडको चरित्र हो । त्यो बाढी ल्याउने पहिरोभन्दा पनि माथि चढेर, हिम–नदी छिचोलेर, दोर्जीलाक्पा हिमालपारिको तिब्बती पठारलाई आँखा झिम्क्याएर केहीबेरपछि खाना खान मेलम्ची बजार झर्ने थिएँ, तर के गर्नु यो शरीर मेसिन नहाली गुड्न सक्दैन, पखेटा नहाली उड्न सक्दैन ।
लाखौं वर्ष तिनै चरालाई हेरेर मानिसले सोचेथ्यो होला– एक दिन त म पनि उड्नेछु ! अहिले अनेक प्रयासपछि उसले उड्ने जहाज बनाएको छ । र, जसमा चढेर मैले पनि पृथ्वी चक्कर मारेको छु । त्यो चील छेउमा आउँदो हो त उसलाई मैले भन्ने थिएँ– म पनि उडुवा मान्छे हुँ चील, तैंले बरु अमेरिका, युरोप अफ्रिका देखेको छैनस् होला, तर म त पखेटाको सहाराले संसार घुमिसकें । म पनि मेसिन जोडेर उड्न सक्छु, तेल भरेर गुड्न सक्छु, तँ धेरै फुर्ती नगर् । एउटा सापियन्स चरित्र !
मेलम्चीबाट केही किलोमिटर उत्तर हान्निएपछि गाडी रोकिन्छ । खोलामा एउटा घर छड्के गाडिएको छ, जसलाई क्यामरामा कैद गर्न मेरी फ्रान्सेली पत्रकार साथी एलिस र म आतुर छौं । त्यसै नजिक न्वारखोलाको तीरमा बाँदर लड्ने भिरालो जमिन छ । ७१ वर्षीया आमा सकीनसकी बुट्यानमा खुट्टा अड्याएर घाँस काट्दै छिन् । मलाई लाखै दिए पनि त्यो भीर चढ्ने थिइनँ, तर उनलाई कसले लाख देओस्, त्यो त उनको दैनिकी पो हो ! फगत बाँच्नका लागि गर्नुपर्ने अनिवार्य काम । ‘ए आमा लडेर मरिएला नि किन त्यस्तो भीरमा चढेको,’ मैले चिच्याएँ । उनले हाँसो मिसाएर एकै सासमा जवाफ फर्काइन्, ‘त्यस्तो बाढीले त लगेन बाबु, यहाँबाट लडेर के मरिएला र ? मरे माटोमुनि, बाँचे यहीं छँदै छु । तर, दुःखीलाई काल आउँदैन बाबु ।’
गाडी अघि बढ्दै गर्दा एलिसले आफ्नो बिहे अघिल्लो साता मात्रै भएको बताउँदै दम्पतीको हँसिलो फोटो मोबाइलमा देखाई । ‘हनिमुन मनाउन छाडेर कता यो दुःखको कथा खोज्न आएको त ?’ मैले जिस्क्याएँ । ‘यस्तै भयो,’ उसले उत्तर फर्काई । यसै पनि वर्षौंसम्म सँगै बसेको केटोसँग गरेको फोटो–बिहेपछि हनिमुन जरुरी पनि त नपर्ला सायद । त्यसैले ऊ हुर्रिएर सापियन्स निर्मित पखेंटे जहाज चढेर आई, धेरै पर उत्तरी एटलान्टिक महासागरको किनारमा रहेको फ्रान्सबाट ।
गाडी थप उकालो लाग्छ उत्तरतिर, मेलम्ची बगरैबगर, बालुवाको
राज्यमा ! कतै घर खोलामा छन् त कतै आधा खसेका ! कतै खोला सम्याउँदै गरेका सुरक्षाकर्मी त कतै पुल बनाउने प्रयासमा लागेका भ्याकुहरू छन् । कतै विरक्तिएका मनहरू टेन्टमा बसेका छन् त कतै सकीनसकी उठ्न लागेका थकित ज्यानहरू । घर बगर बने, ज्यान टेन्टमा सरे । भर्खरै सुरु भएको हिउँदे रातको सिरोटोमा उनीहरूलाई याद आउँदो हो– पसिनाको कमाइले किनेका हरेक इँटा, जुन उनीहरूले सिरेटो छेक्ने आशामा उभ्याएका थिए ।
घरभित्र पसेको, पिलर उखेलेर बगेको खोलो अहिले देख्न पनि मुस्किल छ । यही भ्रमले वास्तवमा तहसनहस पार्‍यो । खोलाले खिचेको रेखा सायद मानिसले थाहा पाएन । उनीहरूले सरकारी अमिनले नापेको जमिन नामसारी गरे ! पर्खालले, बाटाले, घरले खेत बनाउँदै खोलाले बनाएका चिह्नहरू मेटाउँदै गए र मख्ख पर्दै गीत गाए– खोलो गयो तीरैतीर मैले खाएँ
खीरैखीर ! उनीहरूलाई लाग्यो– ‘खोलो सानै छ, के पो आउला ? पोहोर आएन, परार आएन, बाका पाला आएन, हजुरबाले पनि थाहा पाएनन् ।’ अर्को मनले सोचे होलान्, ‘आइहाल्यो भने पनि बलियो सिमेन्ट र कडा रडलाई बाँधेर पिलर बनाएपछि खोलाको बलले कहाँ भेट्छ ?’ तर, खोलो त पहाड काट्ने तरबार हो, ढुंगा खियाउने रसायन हो ।
दुई/चार दशक बाँच्ने मानिसको आफ्नै इतिहास केही लाख वर्षको मात्रै छ । उसले पृथ्वीको उमेर साढे चार अर्ब भन्ने हिसाब गरेकै छैन वा त्यो कति हो भनेर ठम्याउनै सक्दैन । यी खोला पनि कम्तीमा ७ करोड वर्षका भइसके, जो हिमालय पर्वत बन्ने क्रममा बनेका थिए वा अझै अघिदेखि नै बगेका थिए । भारतीय र युरासियन प्लेट ठोक्किँदै जाँदा यी पहाड उठे । आफ्नो पुरानो बाटो पहिल्याउँदै ती नदीले पहाड काटे । उचालिँदै जाँदा पहाड हिमाल बने भने नदी गहिरिँदै गए । हिमालभन्दा पनि जेठा यी नदीले कत्रा–कत्रा चट्टान काटेर यहाँ आइपुगेका हुन् । यिनको चरित्र बुझ्न त्यति सजिलो कहाँ छ ? तर, मानिस फुर्ती गरिबसेको छ किनकि उसले फिस्टे जहाज बनाएको छ, कमिलाजत्रा गाडीमा गुडेको छ, धर्से पुल बनाएको छ । ल मानिसले हिमालय पर्वत बनाएर देखाओस् वा हिमालको एउटा चुचुरो मात्रै !
यो मेलम्ची त पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म ३५ सय किलोमिटरमा फैलिएको संसारकै सबैभन्दा अग्लो हिन्दुकुश हिमालय पर्वत हिमशृंखलाको एउटा सानो अंश हो । यो पर्वत, जहाँ एसियाका दस ठूला नदी बग्छन्, जहाँ पृथ्वीको तेस्रो ठूलो हिउँभण्डार छ, जहाँको नदी बेसिनको क्षेत्रफल मात्रै ३५ लाख वर्गकिलोमिटर छ, झन्डै दुई अर्ब मानिसको पानीको स्रोत यही हो अर्थात् संसारकै अग्लो हिमशृंखला । त्यसभित्र मेलम्चीको पूरै जलाधार नाप्दा पनि जम्मा ३३० वर्गकिलोमिटर मात्रै हुन्छ । यो मेलम्ची जोडिने कोसी नदीको जलाधार क्षेत्र मात्रै ६० हजार वर्गकिलोमिटर छ, थोरै पश्चिममा गण्डकी ४६ हजार वर्गकिलोमिटरमा, कर्णाली ४४ हजार वर्गकिलोमिटर र महाकाली १७ हजार वर्गकिलोमिटरमा फैलिएका छन् । यिनीहरूको शिर तिब्बतमा छ, शरीर नेपालमा छ र पाउ भारतमा छ ।
नेपालका जम्मै खोला–नालाको लम्बाइ नाप्दा ४५ हजार किलोमिटर हुन्छ भन्छन् नापनकर्ताहरू । यसो सोच्छु, यो पृथ्वी एक फन्को मार्दा जम्मा ४० हजार किलोमिटर मात्रै हुन्छ, त्यसैले हाम्रा नदी–नाला मात्रै पूरे हिँडे पनि पृथ्वी फन्को मारेभन्दा बढी हुँदो रहेछ । ‘के नेपाल छ सानो छ ?’ भनेर लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए । नेपाल विशाल मात्रै होइन, भयंकर लामो पनि पो छ ! म पनि एउटा निबन्ध लेखौं, ‘के नेपाल छोटो छ ?’ देवकोटासँग दाँजेर फेरि आफूलाई ठूलो बनाइसकें । होमो सापियन्सको खास चरित्र यही हो, अर्थात् मेरो !
मेलम्ची नदी किनारमा तालामरांग, चनौटे, गनिसे, किउल, टिम्बु यस्तै–यस्तै नाम दिएर मानिसले लालपुर्जा निकालेका छन् । मेलम्ची, हेलम्बुपालिका भनेर छुट्याएका छन् । नेपाल–भारत–चीन भनेर नक्सा कोरेका छन् । तर, मानिसले कोरेका नक्सा त मसीले कोरिएका धर्साहरू हुन्, जो उनीहरूबाहेक अरू कुनै पनि प्रजातिले बुझ्दैनन् । शासन गर्न सजिलो होस् भनेर बनाइएका यस्ता नाम, नक्साका रेखा नदीले चिन्दैनन्, पहाडले देख्दैनन्, हिमालले मतलबै गर्दैनन् । उनीहरूको आफ्नै नक्सा छ, आफ्नै चरित्र छ र आफ्नै गति पनि ।
किउलमा चर्को घाम लागेको छ । यो हेलम्बुको राजधानी हो । आधा राजधानी त बगरमा छ । ‘रिभरसाइड रिसोर्ट’ लेखिएको बोर्ड छ, तर तीन तले रिसोर्ट भने खोलाको बीचमा ढलक्क ढल्केको छ । खोला किनारमा उभिएर आकाशतिर हेर्छु र कहाँ आइपुगें भनेर नक्सा बनाउन थाल्छु । घरीघरी त लाग्छ, यो देशमा चार होइन ६ दिशा छन्– पुूर्व, पश्चिम, उत्तर, दक्षिण, तल, माथि । जसले तल–माथिको हिसाब बुझ्दैन, उसले नेपाल चिन्दै चिन्दैन । जता गए पनि अलपत्रै पर्छ ।
खोलैखोला गुडेर गाडी किउलबाट एकाध किलोमिटर उत्तर बढेपछि टिम्बु पुग्यो, त्यसपछि गाडी जाने बाटो हरायो । त्यसलाई बर्खाले लग्यो । केही उत्तरमा काठमाडौंका मान्छेको तिर्खा मेटाउने मेलम्ची खानेपानी योजनाको टनेल छ, तर तामझामका साथ मेलम्चीलाई टनेलभित्र हुलेको सापियन्स अहिले टनेलसम्म पनि पुग्न नसकेर टोलाएर बसेको छ । जाने बाटै चैट पारिदियो बाढीले, उसले बनाएका भ्याकुले कहिले बाटो खन्लान् र फेरि टनेलको छेउमा थुप्रिएको गेग्रान पन्छाउलान्, थाहा छैन !
गाडी उकालो लाग्यो सेर्माथांगतिर । किउलबाट डेढ घण्टा बटारिँदै उक्लिएपछि हिमालसँग आफ्नो लेभल मिलाउन पुगियो । हिमालसँग लेभल त के मिल्थ्यो उही सापियन्स चरित्रको ठूले प्रवृत्ति मिसाउँदा त्यस्तो लाग्ने गर्छ । यो डाँडाबाट सीधै माथि पाँच किलोमिटर चढे मात्रै बल्ल लाङटाङको चुचुरो भेटिन्छ, साढे चार किलोमिटर चढे दोर्जीलाक्पासँग लेभल मिल्छ ।
२६०० मिटरको उचाइको सेर्माथांगको डाँडोबाट पूर्व थुके इन्द्रावती झर्छ, पश्चिम थुके मेलम्ची । यहाँबाट उत्तर पश्चिम हेरे रसुवा देखिन्छ, दक्षिण पश्चिम हेरे शिवपुरी, थोरै उत्तर पश्चिमतिर आँखा तन्काए लाङटाङ हिमालको टुप्पो, उत्तरपूर्व हेरे दोर्जीलाक्पा हिमाल, अलि तल हेरे मेलम्ची गाउँ त दक्षिणपूर्व आँखा झारे बोतांग देखिन्छ ।
हिमालमा घामको अन्तिम स्पर्श हेर्न रन्केर तीन तलामाथि यांग्रीमा होटलको छतमा जान्छु । अघिको चीलजस्तो हुँदो हो त घाम डुब्नै लाग्दा चुचुरोमा पुग्दो हुँ, तर कल्पनामा रमाउनेभन्दा माथिको हैसियत मेरो छैन, आफैंले आफैंलाई राजा–प्राणी भने पनि मेरा अनेकन सीमितता छन् । धेरै पूर्वको गौरीशंकरको चुचुरोमा अस्ताएपछि घाम दोर्जीलाक्पाको चुचुरोबाट गायब भयो र लाङटाङको चुचुरोमा केही बेर अडिएर पश्चिम लाग्यो, बिहानै फर्किने वाचा गरेर ।
‘वाह, यो ठाउँमा, हनिमुन मनाउनका लागि सबै कुरा छन् । पाए त म यहाँ महिनौ बस्ने थिएँ,’ एलिस प्रसन्न हुँदै भन्छे ।
म उसलाई जिस्क्याउँछु, ‘हो यहाँ सबै छ एलिस, श्रीमान्बाहेक ।’
ऊ जोडले हाँस्छे र भन्छे, ‘ठीक भन्यौ ।’ ह्वाट्सएप गर्छे, ‘मैले श्रीमान्लाई भनिदिएँ तिमीले भनेको कुरा । तर, उसलाई लिएर एक दिन पक्कै यो ठाउँमा आउँछु ।’
साँझ नीमा लामा र उनका साथी डेन्डुप लामा भेट भएका छन् । छेउको हिटरको तातोले शरीरलाई सेक्दै सोधें, ‘हेलम्बुको अर्थ के हो ?’
‘ह्युल्मो भाषामा हे भनेको आलु, लबु भनेको मुला अर्थात् हेलम्बु भनेको आलु मुला । किन ?’
‘यहाँ खासमा अरू अन्न फल्दैन । आलु र मुला नै हो, त्यसैले होला,’ डेन्डुपले अनुमान गरे ।
‘अनि सेर्माथांग भनेको नि ?’
‘खास यो छेर्मा हो पछि सेर्मा भयो,’ डेन्डुप भन्छन् ।
‘छेर्मा भनेको काँडा, थांग भनेको ठाउँ ।’
खासमा आज आलु मुला गाउँको काँडे डाँडामा बसिएको रहेछ, जसले मेलम्ची र इन्द्रावतीलाई छुट्याएको छ ।
घमाइलो बिहानीमा छेचु गर्न गाउँका मानिस गुम्बामा भेला भएका छन् । अन्न लगाउनुअघि र अन्न भित्र्याएपछि गरी वर्षमा दुई पटक गुम्बामा छेचु अर्थात् सामूहिक पूजा गरिन्छ, यो पछिल्लो हो । लामाहरू एकसुरले पाठ गरिरहेछन्, जसका श्रोता बनेका छन् हिमाल ।
बिहानैदेखि खुलेका हिमाल घामको रापले बिस्तारै उड्न थाले र बादलको रूप धारण गरे । उभिने मात्रै हिमाल होइन रहेछ, हिमाल त उड्दो पो रहेछ । म एकनासले धुपी बलेको मुस्लो हेर्दै आफैंलाई सोध्छु, ‘साँच्चै नदीको
उद्गम कहाँ हो ? हेर्दा त ती हिमाल केवल पानी अड्याउने भूबनोट मात्रै पो देखिन्छन् जसलाई मैले नदीहरूको उद्गम भनेर पढ्ने वा बुझ्ने गरेको छु । त्यो दोर्जीलाक्पा वा जुगलमा हिउँ पार्ने त बादल पो हो, तल पानी पार्ने पनि त उही हो । नदी बगाउने पनि बादल, हिउँ झार्ने पनि बादल । खासमा नदीको उद्गम हिमाल होइन, त्यो हिमाललाई छोपेको बादल हो कि । नदी पहाडमा होइन, हिमालमा पनि होइन, आकाशमा जन्मिन्छन् । पहाड हिमालले त केवल नदीलाई हुर्काउँछन् वा केहीबेर अड्याउँछन् ।’
एक हूल चरा उडेको देखेपछि नीमाले भने, ‘हिउँ चरा आयो । अब केही दिनमा हिउँ पर्छ ।’ हिउँ चरालाई उनीहरू खावा झिवी भन्दा रहेछन् । खावा भनेको हिउँ, झिवी भनेको चरा । हिउँ चरा हिमाललाई दाहिने पारेर वन पसेपछि हामी भने उनीहरूलाई हिउँ पार्ने जिम्मा दिएर मेलम्चीले गत बर्खामा कब्जा गरेको बगर हुँदै फेरि मेलम्ची बजार आइपुगेका छौं, जहाँ इन्द्रावती र मेलम्ची खोला जोडिन्छन् ।
खोला किनारको होटलको कोठामा चहकिलो जूनले चियाइरहेछ । मध्यरातमा म बरन्डामा निस्कन्छु र एकटकले खोला कराएको सन्छु । तर, जति गहिरिएर सुन्छु त्यति फरक–फरक आवाज सुन्छु । यस्तो लाग्छ, जसरी पानीको रङ हुँदैन त्यसै गरी उसको आफ्नै आवाज पनि हुँदैन । ऊ बादल बन्छ र ठोक्किँदा चट्किन्छ । बालुवाबीचबाट बग्दा ऊ सुसाउँछ, यमानका ढुंगामा बझारिँदा वा धसारिँदा ऊ गड्गडाउँछ, झरना भएर झर्दा छङछङ गर्छ । धारो भएर झर्दा तिरिरी गर्छ, किनारको छाल बन्दा पत्ल्याकपत्ल्याक गर्छ । आकाशबाट बिस्तारै झर्दा फिसफिस गर्छ, अलि जोडले झर्दा दर्किन्छ वा झमझम गर्छ । खासमा पानीको आवाज कस्तो हुन्छ हँ ?
पटक्कै निद्रा लागेको छैन । केही दिनदेखि यता बगरमा सपना हराएका मानिसको कथाले मथिंगल हल्लाएको छ । वर्षौं मलेसियामा घोटिएको पैसाले जोडेको घरघडेरी गुमाएका दिलबहादुर नेपाली हुन् वा गनिसेमा टिनको टहरोमा टोलाइरहेका दीपबहादुर ज्योति हुन्– यो नदीको आवाजले तर्सिएका अनुहारहरू आँखामा झलझली आइरहँदा म भने ल्यापटपमा हिन्दुकुश हिमालयका नदीहरूको नक्सा हेरिरहेको छु र खोज्दै छु सानो मेलम्ची कतै । देश बनेका धर्साहरू हटाएर नदीले बनाउने नक्सामा म देख्छु, जम्मा दस ठूला देशहरू । जहाँ म उभिएको छु त्यहाँबाट धेरै परसम्म गंगा नदी–देश छ, पूर्वमा ब्रह्मपुत्र नदी–देश भने अझ पूर्वमा इरावड्डी, सालविन र मेकंग नदी–देश छन्, जो दक्षिणपूर्वी एसियामा बग्छन् । पश्चिममा इन्डस् नदी–देश छ, जो अरब सागर छुन पुग्छ भने अझ पश्चिममा अमु दार्या छ, जो पामिर हिमालबाट मध्यएसियाको सुक्खा भूभाग भएर बग्छ, उत्तरमा छ तारिम नदी–देश । हिमालपार तिब्बती पठारको उत्तर पूर्वमा यलो र यांग्से नदी–देशहरू छन् । तिनैलाई बाँडफाँड गरेर अहिले भारत, चीन, नेपाल, थाइल्यान्ड, पाकिस्तानलगायतका दर्जनौं देश बनेका छन् ।
ती सबैको जननी तिनै दस नदीहरू हुन् । नदीको नक्सा देशभन्दा धेरै पुरानो हो, यो धेरै टिकाउ पनि छ । देश त बन्दै र भत्किँदै आएका छन्, तर नदीको नक्सा बन्न पनि धेरै समय लाग्छ, भत्किन पनि उत्तिकै समय लाग्छ ।
बिहानको घाममा पनि मेलम्ची झुल्केको छैन । कुनै बेलाको बहुरंगी नदीको अहिले भने एउटै रङ छ बालुवा रङ । यहाँ बालुवाको साम्राज्य छ, ढुंगाहरूको गस्ती छ अहिले । मेलम्ची बजारको केही दक्षिण बाहुनेपाटीबाट सिन्धु खोलाको किनारैकिनार उत्तर हानिएको गाडी पिप्लेमा चिया पिउन रोकिन्छ । एक जना अधबैंसे आत्तिँदै आउँछन् र होटल साहुलाई मोटरसाइकलमा छोरी खोज्न जानुपर्‍यो भन्छन् । उनकी १६ वर्षे छोरी प्रेमीसँग टाप ठोकिछन् । तेल छैन भनेर साहुले भनेपछि मोटरसाइकलमा तेल भरिदिने सर्तमा उनी हुइँकिए भोटेचौरतिर छोरी खोजिदिने प्रहरी भेट्न । छोरीको शरीर त प्रहरीले फिर्ता ल्याउन सक्ला, तर कसैले लगिसकेको मन त के फिर्ता ल्याउन सक्ला र ?
हामीलाई साहुनीले चिया पकाएर खुवाइन् र धपाइन् काठमाडौं खाल्डातिर । भोटेचउरको प्रहरी चौकीमा आँखा लगाएँ, तर हराएकी छोरीका बालाई भने देखिनँ । भोटेचौर कटेपछि ओरालो झरेर साली नदी बग्दै गरेको साँखु पुग्दा झमक्क साँझ परेको छ । होमो सापियन्सले बिजुली बालेर सहर त झलमल पारको छ, तर गाडी चढेर, फोक्सो बिगारेको छ । अचाक्ली धूलो र धूवाँमा रमाइरहेको काठमाडौं खाल्डोको उत्तरपूर्वी कुनामा साली नदी त देख्न पनि हम्मेहम्मे नै छ, तर मेरा आँखा भने खोला किनारको एउटा होटलमा पर्‍यो, जहाँ लेखिएको थियो– खोला रिटर्न्स । क्या बात ! वास्तवमा सोल्टीले आफ्नो होटलको नाम त खतरै राखेछन्, तर के उनलाई थाहा छ होला खोला रिटर्न्स भयो भने उनको हविगत के हुन्छ ? अहिले मानिसले खोलालाई पेलेको छ, हिमाल द्रुत गतिमा पगालेको छ, पहाड कोतरेको छ, माछा लोप पारेको छ । जसरी मेलम्चीले आफ्नो जबरदस्त रिटर्न्स देखायो र मानिसलाई उठीबास लगायो, थाहा छैन साली नदीले कहिले त्यो रिटर्न्स गर्नेछ, तर पक्का गर्नेछ, ढिलोचाँडो । आफ्नै उठीबास गराउने भविष्यको नाम होटलवालाले जानेर राखे कि नजानेर मलाई थाहा छैन । म खाल्डोभित्र घुस्नुअघि मेलम्ची फन्को मारेको नक्सा जीपीएसमा हेर्दै डायरीमा लेख्छु, ‘यस् ब्रो खोला रिटर्न्स, वी केयरफुल ।’

Page 12
कोसेली

‘मुग्लानबाट बाँची फिर्नु नै ठूलो रैछ’

- चित्रांग थापा

गाडीको पछिल्लो सिटमा बसेका थिए– तीन युवा । तिनका अनुहारमा गहिरो थकान र बाक्लो निराशाको रङ पोतिएको थियो । भारत हिमाञ्चल प्रदेशको एक लेकाली भेगको स्याउ बगानबाट घर फर्किरहेका थिए तिनीहरू । जाँदा लगाएको उही पुरानो कपडा र फाटेको झिटी–गुन्टाका साथ । तिनै युवाको एउटै पिरलो थियो– पसिना त बगाइयो, तर सुख भएन !
‘साउनतिर खेतीपातीको काम सिध्याएर सिमला गएको थिएँ, धेरथोर कमाउँला भन्ने थियो’ पहिलो पटक स्याउ टिप्न हिमाञ्चल पुगेका दीपेन्द्र भण्डारीले दिक्दारी सुनाए, ‘तर, भनेजस्तो भएन, मुग्लानमा बाँचेर फर्किनु नै ठूलो रहेछ । कमाइको कुरै नगरौं, मजदुरी गरेको पैसासमेत मिलेन ।’
मुग्लानका रंगीन तस्बिर मस्तिष्कमा सजाएर छिमेकी दाइहरूसंँग कामको खोजीमा सिमला पुगुन्जेल दङ्दास थिए दीपेन्द्र । त्यहाँ थिए स्याउका विशाल बगानहरू, जहाँ सुदूरपश्चिम र कर्णालीका थुप्रै दीपेन्द्रहरू उचालिरहेका थिए स्याउका बोरा । दीपेन्द्रले पनि स्याउ टिपेर ग्रेडिङ गरे, प्याकेजिङ गरे ।
उधारोमा काम र उधारैमा रासन चलिरहेकै थियो । सुर्खेत–कैलालीका ११ युवा उधारो–प्रबन्धको एकै मेसमा खान्थे र रात–दिन स्याउ टिप्थे । दिन बित्दै गयो, उधारो बढ्दै गयो । तर, बगान मालिकले न रासनको पैसा तिरिदियो न ज्याला दियो । उधारो बढेपछि पसलेले दिनहुँ ताकेता गर्न थाल्यो । स्वाभाविक रूपमा, कामदारले ज्यालाको ताकेता गरे । कामदारलाई काममा खटाउन, तलब दिन र बगैंचाको रेखदेख गर्न मालिकले एक मुनिम राखेको थियो । मुनिमसँग दीपेन्द्रहरूले ‘काम गरेको पैसा पाऊँ’ भनिरहे । मुनिमले बेवास्ता गरिरहे । ‘एक दिन असह्य भएर सुर्खेतका एक दाइले मुनिमलाई दुई झापड हाने,’ दीपेन्द्रले भने, ‘यही निहुँमा उसले पुलिस केस गर्‍यो, सबैलाई थुनायो ।’
हातपातको अभियोगमा मुनिमले थुनेपछि पहाडी ठिटाहरू तर्सिए । काम गरेको पैसा नलिने भए छुट्ने सर्त मुनिमले तेर्स्यायो । ठिटाहरूले नाइँ–नास्ति नगरी मुन्टो हल्लाए । महिनौंको ज्याला गुमाएर उनीहरू थुनामुक्त भए ।
दीपेन्द्रलाई अलिकति रिस बगान साहुसँग छ, अलिकति रिस मुनिमसँग छ, अलिकति रिस हात छाड्ने सुर्खेतको साथीसँग छ, सबैभन्दा बढी रिसचाहिँ उसै थुनिदिने भारतीय प्रहरीमाथि छ । अरू सबै दसैंमा घर फिरे धेरथोर पैसा बोकेर । दीपेन्द्रहरू भने प्रहरी–खोरमा बसे र तिहारमा घर पुग्ने इरादाले खुबै याचनापछि छुटे । सबै आ–आफ्ना घर गए, दीपेन्द्र पनि आइपुगे ।
सिमलातिर स्याउ टिप्ने काम सकिएको र लेकतिर हिमपात हुने समय सुरु भएकाले घर फर्केको उनीहरूले बताए । ‘रित्तै कमाउन गएका थियौं, परिवारलाई एक जोर नयाँ लुगा पनि किन्न नसक्ने भएर झन् रित्तै फकियौं,’ दीपेन्द्रले भने ।
बर्सेनि सीमानाकामा सुरक्षाकर्मीहरूले चेकजाँचको बहानामा, गाडीवालाले भाडाको बहानामा दीपेन्द्रहरूलाई ठगिरहन्छन् । बिरानो ठाउँमा उनीहरूका लागि बोलिदिने कोही हुँदैन । ‘बूढापाकाले भारतमा पस्नेलाई मुग्लानी र भारतलाई मुग्लान उसै भनेका रहेनछन्,’ दीपेन्द्रसँगै फर्केका कैलाली मोहन्यालका एक युवा भन्दै थिए, ‘परदेशमा समस्या परेपछि थाहा हुँदोरहेछ– मुग्लान दुःखको गहिरो सागर हो ।’
थुप्रै नेपाली कामदार भारतमा बिनाअपराध मुद्दा–मामिला झेलिरहन्छन् । केही ठूला घटनामा चाहिँ भारतीय गैरसरकारी संस्था र दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरी पीडितको उद्धार गरेका छन् ।
चार वर्षअघि हिमाञ्चल प्रदेशकै सतलज हाइड्रोपावरमा काम गर्ने ८० नेपाली कामदारलाई ठेकेदार कम्पनीले ६ महिना थुनामा राखेको घटना चर्चित भएको थियो । कञ्चनपुरको सीमापारि बनवासाका केही गैरसरकारी संस्थाले पीडित नेपाली कामदारलाई थुनामुक्त गर्न पहल गरेका थिए । यो मुद्दा अझै हिमाञ्चलको उच्च अदालतमा विचाराधीन छ ।
सतलज हाइड्रोपावरमा काम गर्ने नेपाली कामदारले मजदुर युनियन बनाएका थिए । तलब–सुविधाका विषयमा ठेकेदार कम्पनीसँग विवाद बढेपछि केस अदालतसम्म पुगेको थियो । १६ वर्षमुनिका नेपाली कामदारमाथि पनि मुद्दा लगाइएको थियो । मुद्दा परेपछि राम्रो कमाइ हुने रोजगारी पनि गुम्यो । कतिपय अझै तारेखमै छन् ।
नेपाली कामदार भन्नेबित्तिकै ज्यालामा विभेद गरिन्छ, अबेरसम्म काममा जोताइन्छ र समयमा तलब–सुविधा दिइँदैन । यसरी रोजगारी खोज्दै ‘मुग्लान’ पसेका नेपाली युवा बर्सेनि हिमाञ्चलमा जस्तै हिरासतमा बस्छन् र अनेक हन्डरपछि रित्तै हात घर फिर्छन् । त्यस्ता नेपाली कामदार भारतका विभिन्न सहरमा भेटिन्छन् । ‘यसपालाको दुःख सम्झने हो भने काम खोज्दै भारत जानै नपरोस् लाग्छ,’ दीपेन्द्र भन्छन्, ‘तर, के गर्नु यहाँ रोजगारी छैन, धाक, धम्की, दुःख सहेरै पनि मुग्लान नगए घरको गुजरा चल्दैन ।’

कोसेली

त्रासद इतिहास–उत्खनन

- प्रदीप ज्ञवाली

आगोले छुस्स पोल्दासमेत मान्छे आत्तिन्छ । एसिड छ्यापिएका या मट्टीतेल छर्केर जलाइएका महिलाका असह्य छटपटी देख्दा मुटु थरर्र काम्छ । तर, कुनै बेला पतिको मृत्युपछि उसकी पत्नीलाई चितामा सँगै राखेर ज्युँदै जलाइन्थ्यो । त्यो दृष्य हेर्न जात्राजस्तै भीड लाग्थ्यो । जो चितामा चढ्न तयार हुँदैनथे, उनीहरूलाई जबर्जस्ती चितामा चढाइन्थ्यो र चितामै बाँधेर राखिन्थ्यो । चिताग्निले अत्तालिएर भाग्न खोज्नेहरूलाई हिर्काएर मार्न बाँसका लाठाहरू तयार हुन्थे । उनीहरूका चित्कारलाई दबाउन चर्को स्वरमा बाजागाजा बजाइन्थे । सुन्दै ऐंठन हुने यस्तो प्रचलन हाम्रै समाजमा समेत व्याप्त थियो भन्ने कुरा आजका पुस्ताका लागि पत्याउनै कठिन हुन्छ । यस्तो अमानवीय प्रचलन कुन ऐतिहासिक पृष्ठभूमिमा विकसित भयो ? यसका अर्थ– सामाजिक जराहरू के थिए ? कसरी यस्तो क्रूर प्रथाले समाजमा लामो समयसम्म सांस्कृतिक वर्चस्व स्थापित गर्‍यो ? र, कसरी यो अन्त्य भयो ? यस्ता अनेकौं प्रश्नको गहिरो चिरफार गरी सतीप्रथाको उत्खनन गरेका छन् लेखक सुजित मैनालीले, किताब ‘सती’ मार्फत् ।
सतीप्रथाको मुहान खोज्दै जाने क्रममा सुजित मैनाली वैदिक, महाभारतकालीन र उत्तरवैदिक समाजसम्म पुगेका छन् । सृष्टिको आदिकालमा मातृसत्तात्मक स्वरूपमा रहेको मानव समाज आदिम सामुदायिक अवस्थाबाट दास समाजमा संक्रमण भएसँगै नारीको हैसियत पनि परिवारको अगुवा तथा समुदायको प्रबन्धकको तहबाट अवनत हुँदै गयो । आदिम गुजाराको अवस्थाबाट संग्रह गर्न सकिने गरी निजी सम्पत्तिको उदय भएसँगै यसले पारिवारिक– सामाजिक संरचनामै ठूलो परिवर्तन ल्यायो । राज्यसत्ताको उदय, पितृसत्ताको आरम्भ र नारी पराधीनताको शृंखला यस परिवर्तनका मुख्य विशेषता थिए । परिवार र समाजको मुखियाका रूपमा पुरुषको उदय भएसँगै हिजोसम्म स्वच्छन्द र धेरै हदसम्म नारीको नियन्त्रणमा रहेको यौन प्रबन्ध पनि बदलिएर पुरुषको हातमा पुग्यो । एकल विवाह प्रथा सुरु भएसँगै नारीमाथि पुरुषको वर्चस्व स्थापित हुँदै गयो । र, ऊ पुरुषको ‘सम्पत्ति’ का रूपमा अवमूल्यित हुन पुगी । आमाले मात्रै चिन्ने र आमाकै नाममा चल्ने वंश परम्परा भत्किएर पुरुषकेन्द्रित हुन थाल्यो । सन्तानमा आफ्नो पहिचान स्थापित गर्न र सम्पत्तिको उत्तराधिकारी निर्क्योल गर्न पुरुषले पत्नीको यौनजीवनमा नियन्त्रण सुरु गर्‍यो ।
निजी सम्पत्तिको उत्पत्ति नै मातृसत्ताको विघटन र नारीमाथि पुरुषको नियन्त्रणको मुख्य विन्दु थियो भनेर वैज्ञानिक–समाजशास्त्रीय निष्कर्ष निकाल्ने कामको श्रेय एंगेल्सलाई जान्छ । यस विन्दुलाई नारीको ‘ऐतिहासिक पराजय’ ठान्ने एंगेल्सको यही दृष्टिकोणलाई मैनालीले पछ्याएका छन् । उनको ठम्याइ छ, सतीप्रथा नारीको यौनजीवन नियन्त्रण गर्ने क्रममा पितृसत्ताले सिर्जना गरेको क्रूरतम र परपीडक प्रथा थियो । यस क्रममा मैनालीले नारीमाथि पुरुषको नियन्त्रणको मुख्य प्रयोजन सम्पत्तिको वारेस आफ्ना सन्तानलाई बनाउने विषय सुनिश्चित गर्नु हो भन्ने एंगेल्सको प्रस्थापनालाई भने अपर्याप्त ठहर्‍याएका छन् । मैनाली भन्छन्– ‘मिहिन रूपमा हेर्दा मानिसको यौनजीवन सम्पत्ति (हस्तान्तरण) को चाहभन्दा अझ सघन मनःकांक्षाबाट अनुप्राणित भइरहेको हुन्छ ।’ यस सन्दर्भमा नवमार्क्सवादी क्लाउड मिलासुलाई बढि भरपर्दो ठानेका मैनालीको निष्कर्ष छ– वंश परम्परा कायम राख्नु र आफ्ना सन्तानलाई आफू आर्जित सम्पत्तिको उत्तराधिकारी बनाउनु होइन, नारीको यौनजीवनलाई नियन्त्रण गर्नु (उनकै शब्दमा भगयन्त्रणा) नै यसभित्र निहित मुख्य उद्देश्य थियो । उनको यस सामान्यीकरणले भने थप अध्ययनको माग गर्छ । तर, मुख्य उद्देश्य जे भए पनि, नारीमाथि हिंसाको शृंखलाको आरम्भ विन्दु पितृसत्ताको उदय हो भन्नेमा द्विविधा छैन । यस अर्थमा लेखकले सतीप्रथाको ऐतिहासिक–सामाजिक जरालाई सही ढंगले पहिल्याउने काम गरेका छन् । यदि आदिम सामुदायिक समाजको विघटन, निजी सम्पत्तिको उदय र पितृसत्ताको उदय सतीजस्तो नारीघाती प्रथाको आधार हो भने यस्तो प्रथा विश्वका अन्य भूभागमा किन देखा परेन र दक्षिण एसियाको हिन्दु समाज व्यवस्थामै मात्रै कसरी संस्थागत भयो भन्ने प्रश्न स्वाभाविक उठ्छ नै । विश्वका विभिन्न समाजहरूको शोधमाथि आधारित धेरै ग्रन्थको अध्ययन गरेर मैनालीले निष्कर्ष निकालेका छन्– ‘यस्तो नारीहन्ता प्रचलन प्रायः सबै समाजमा कुनै न कुनै बेला अवश्य पनि थियो ।’
केही सय वर्षअगाडिसम्म युरोपेली समाजमा व्याप्त बोक्सीदहन प्रथा, प्राचीनकालमा चिनियाँ समाजमा प्रचलित महिला नियन्त्रणका अमानवीय परम्परा र प्राचीन मिश्रका चिहानहरूको उत्खननबाट प्राप्त प्रमाणहरूलाई उद्धृत गर्दै उनी यो निष्कर्षमा पुगेका हुन् । पितृसत्ताले जुन विन्दुदेखि नारीलाई पुरुषको व्यक्तिगत सम्पत्ति या ‘माल’ का रूपमा व्यवहार गर्न थाल्यो, नारीमाथि पुरुष वर्चस्वको शृंखला सुरु भयो । त्यही वर्चस्वले नारीको बेचबिखन सुरु भयो, नारीलाई वस्तुका रूपमा प्रयोग गर्न थालियो र हिंसाका अमानवीय घटना घटित भए । यस सम्बन्धमा द्युत् क्रीडामा सबै सम्पत्ति, भाइहरू र स्वयं आफूलाई समेत गुमाएपछि युधिष्ठिरबाट दाउमा लगाइएकी द्रौपदीले आफ्नो अस्तित्वबारे कौरव–सभामा उठाएको कालजयी प्रश्न आज पनि सान्दर्भिक छ, जसलाई मैनालीले पनि उद्धृत गरेका छन् ।
संसारका प्रायः सबै भूभाग र समाजमा नारीहन्ता प्रचलन कुनै न कुनै बेला विद्यमान रहे पनि सतीप्रथाको रूपमा यो परपीडक र नृशंस प्रचलन दक्षिण एसियाली हिन्दु समाजमा बढी सघन, बढी संस्थागत र दीर्घकालसम्म कायम रहेको सत्य हो । लेखकले यसका कारणहरूका सम्बन्धमा गहिरो अनुशीलन गरेका छन् ।
वैदिककालमा नारीहरूको अवस्था समाजमा सम्मानित रहेको, त्यतिबेला विधवा विवाह मान्य रहेको र नारी हिंसा न्यून रहेको देखिन्छ । तर, उत्तरवैदिककालमा आइपुग्दा भने समाज रुढीग्रस्त र अनुदार बन्दै गएको, वर्णव्यवस्था आरम्भ भएको, नारीहरू पुनर्विवाहको अधिकारबाट वञ्चित भएको र त्यसै पृष्ठभूमिमा सतीप्रथा संस्थागत बनेको मैनाली विश्लेषण गर्छन् । यसपछाडिको बाह्य कारणका रूपमा उनले इरानी, ग्रिसेली, शक, कुषाण र हुणलगायतले यस भूभागमा गरेको हमला, त्यसबाट सृजित भय र आफ्नो स्वत्व जोगाउन समाजलाई कठोर बनाइएको तर्क गरेका छन् ।
यिनै आन्तरिक र बाह्य कारणले इसा पूर्वदेखि नै सुरु भएको सतीप्रथा यस भूखण्डमा झन्डै दुई हजार वर्षसम्म विद्यमान रह्यो । नेपालमा सतीप्रथा दक्षिणबाट आयातित भयो । सतीप्रथाको पहिलो संकेत लिच्छविकालमा पाइएको तथ्य लेखकले उल्लेख गरेका छन् । यो कुप्रथा मल्लकालमा उत्कर्षमा पुगेको विश्लेषण गर्दै लेखकले यसका विभिन्न आयामको चर्चा गरेका छन् । सतीप्रथालाई सत्ताप्राप्तिको हतियारका रूपमा पनि प्रयोग गर्ने गरिएको र सतीप्रथामा मृतकका पत्नी (हरू) मात्रै होइन, कमारीहरू पनि जिउँदै जलाइएका अनेकौं तथ्य उत्खनन गर्दै मैनालीले सतीप्रथाका खासै नखुलेका दुईवटा पाटा बाहिर ल्याएका छन् ।
सतीप्रथामा निहित नारीहन्ता र अमानवीय पक्षलाई उचित ठहर्‍याउन या ढाकछोप गर्न पण्डित/पुरोहितहरूले अनेकौं भ्रान्त धारणा सृजना गरेका थिए । उनीहरूले यसलाई पति वियोगमा विह्वल भएकी नारीले स्वेच्छाले गरेको मृत्युवरणका रूपमा स्वाभाविक ठहर्‍याउने धृष्टता गरेका थिए । उनीहरू ‘चरित्रवान नारीलाई जिउँदै चितामा जल्दासमेत आगोले पीडा दिँदैन’ भन्ने भ्रम फैलाउने कोसिस गर्थे । उनीहरू ‘हाँसीहाँसी पतिको शवसँगै दहन हुन तयार हुने नारीका लागि स्वर्गमा आसन सुरक्षित छ’ भन्ने प्रलोभन देखाउँथे । उनीहरूले सती नजाने विधवाको पतिप्रतिको प्रेम र निष्ठामाथि प्रश्न खडा गरेका थिए र सती नजानेलाई कलंकित गर्न कुनै कसर बाँकी छाड्दैनथे । लेखक मैनालीले यस अमानवीय प्रथाको मिहिन चिरफार गर्ने क्रममा स्थापित गर्न खोजेको मुख्य निष्कर्ष हो– सतीप्रथालाई उचित ठहर्‍याउन खोज्नु हत्यालाई ढाकछोप गर्ने छद्म प्रयास हो, नारीको अनन्त र अपरिमित प्रेमका रूपमा महिमामण्डित गर्न खोज्नु यो हिंसालाई वैध ठहर्‍याउने धृष्टता मात्रै हो । ‘स्वेच्छा कि बाध्यता’ र ‘सतीलाई पीडा हुँदैनथ्यो ?’ दुईवटा अध्यायमा उनले सतीप्रथाबारे स्थापित गर्न खोजिएका भ्रमका पर्दा च्यातेका छन् ।
निश्चय नै लामो समयसम्म मनोवैज्ञानिक रूपमा भ्रमको संसार निर्माण गरेपछि र त्यो भ्रम समाजको संस्कृति एवं परम्पराका रूपमा स्थापित बनेपछि कतिपय कुप्रथालाई पनि मान्छेहरू स्वाभाविक ठान्न पुग्छन् । सती जानु विधवाको कर्त्तव्य हो, यसो गरेपछि उनीहरूका लागि स्वर्गमा स्थान सुरक्षित हुन्छ र यसलाई अवज्ञा गर्नेहरू समाजमा कलंकित र परलोकमा पतीत हुन्छन् भन्ने भ्रमको कुहिरो व्याप्त गरेपछि कतिपय नारीमा पतिको चितामा उसँगै जिउँदै जल्नु ‘नियति’ हो भन्ने मनोविज्ञान निर्माण भयो होला । यसले गर्दा कतिपय महिला आवेग, अन्धविश्वास र विभ्रममा चितामा चढ्न पनि पुगे होलान् । यस्तै आवेगमा आज पनि कतिपय मान्छे आत्मदाह गर्छन्, आत्मघाती बिस्फोटमा ज्यान दिन्छन् । तर, यसको आधार त सांस्कृतिक हिंसाको लामो शृङ्खलामार्फत निर्माण गरिएको थियो । इस्ट इन्डिया कम्पनीका तत्कालीन रेजिडेन्ट लरेन्सको प्रत्यक्ष वर्णनले सतीप्रथा कति क्रूर र अमानवीय थियो भन्ने स्पष्ट पार्छ । यसका अतिरिक्त सती नजाने विधवा नारीमाथि परिवार–समाजले दिने अन्त्यहीन पीडा र सम्पत्तिको अधिकारबाट वञ्चित भएर पल–पल मरेर बाँच्नुपर्ने बाध्यताले उनीहरू यस्तो निरीह जिन्दगी जिउनुभन्दा मर्नु बेस भन्ने सोचाइमा पुगे होलान् । सम्भवतः हिंसाको यस्तो मनोविज्ञान निर्माण गर्न त्यतिबेलाको समाजले, ग्राम्सीले भनेझैं सांस्कृतिक वर्चस्वको अस्त्र प्रयोग गरेको हुँदो हो । तर, सतीप्रथा कुनै पनि अर्थमा स्वाभाविक, स्वैच्छिक र धार्मिक थिएन, यो त धर्मको आवरणमा गरिएको क्रूरतम हिंसा थियो । हिंसाको यस भयावहतालाई मैनालीले हृदयविदारक ढंगले प्रस्तुत गरेका छन् । यसका कारणको अत्यन्त गहिरो अन्वेषण, विश्लेषण र संश्लेषण गरेका छन् । कस्तो ऐतिहासिक पृष्ठभूमिमा, कुन सामाजिक–आर्थिक कारणहरूबाट यस्तो कुप्रथा नेपालमा सहजै अन्त्य हुन सक्यो भन्ने पनि उनले स्पष्ट पारेका छन् ।
‘सती’ नेपालसहित दक्षिण एसियाली समाजमा व्याप्त नारीहन्ता प्रथाको समाजशास्त्रीय अध्ययनको संभवतः एउटा मानक दस्ताबेज हो । आफ्नो अध्ययन र निष्कर्षलाई आधिकारिकता प्रदान गर्न मैनालीले धेरै पुस्तक, शोध र प्रमाणको सहयोग लिएका छन् । अनुवादलाई आधिकारिक बनाउन उनले विभिन्न माध्यम अवलम्बन गरेका छन् । उनको अघिल्लो किताब ‘शिलान्यास’ मा अभिव्यक्त इतिहास–चेत, वैज्ञानिक–दृष्टि, कठोर–अध्यावसाय र संवेदनशीलता ‘सती’ सम्म आइपुग्दा नयाँ उचाइमा पुगेको छ । किताबको सम्पादन छरितो छ, एकाध पुनरुक्ति दोषबाहेक ।
नारीहन्ता प्रथा अन्त्य भएको सय वर्षभन्दा बढी भएको छ । तर, नारीमाथिको हिंसा आज पनि कुनै न कुनै रूपमा जारी छ । महिनावारीजस्तो स्वाभाविक प्राकृतिक प्रक्रियालाई पनि अस्पृश्यताको आवरण ओढाएर एकान्तमा लुक्न बाध्य बनाई हिंसा हुने गरेको छ । असफल या एकोहोरो प्रेमको बहानामा तेजाब छर्केर नारीलाई पल–पालमा मर्दै बाँच्न बाध्य बनाउने हिंसा जारी छ । बालिका–वृद्धसमेतलाई निसाना बनाएर गरिने बलात्कार र यौनजन्य हिंसा जारी छ । विज्ञानको नवीनतम आविष्कारलाई समेत दुरुपयोग गर्दै छोरीहरूलाई जन्मनै नदिने र गर्भमै हत्या गर्ने हिंसा बढ्दै गएको छ ।
सतीप्रथाको यस उत्खननले हामीलाई नयाँ रूपमा जारी नारी हिंसाका अर्थ–सामाजिक र सांस्कृतिक आधार पर्गेल्न र यसविरुद्ध उभिन मद्दत गर्नेछ । यस्तो संवेदनशील विषयमा यो गहकिलो किताब पस्केर लेखक सुजित मैनालीले समाजलाई ठूलो गुन लगाएका छन् । 

कोसेली

एक लुटेराको कायाकल्प

ठूलो जोहानेसबर्गमा ठूलै दुःखहरु छन् । ‘त्सोत्सी’ ले १५ वर्षअघि नै जोहानेसबर्गकै स्लम एरियाको एउटा चोरको कथा सारा संसारलाई सुनाएको हो । २००५ मा बनेको यसले ओस्कारको विदेशीभाषी फिल्ममध्ये उत्कृष्ट अवार्ड जितेको थियो ।
- रमन पौडेल

दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा एउटा स्लम एरिया छ । स्लम अर्थात् एक सुकुम्बासी बस्ती ! यही बस्तीको एक लुटेरा हो– त्सोत्सी । त्सोत्सीको अर्थ नै लुटेरा, अर्थात् चोर ! फिल्मको केन्द्रीय पात्र हो– त्सोत्सी । उसकै संघर्षवरिपरि फिल्मको कथा घुमेको छ ।
सबैभन्दा पछि विकास भएका संसारका ठूला सहरमध्येको एक हो– जोहानेसबर्ग । सहरमा सुविधा–विलासिता हुँदाहुँदै पनि त्यहाँ थुप्रै सहरवासीले जमिन र घर गुमाएका छन् । अन्ततः सुकुम्बासी बनेका छन् । ठूलो जोहानेसबर्गमा ठूलै दुःखहरू छन् ।
त्यही सहरको स्लम एरियाको एउटा चोरको कथा फिल्म ‘त्सोत्सी’ ले १५ वर्षअघि नै संसारलाई सुनाएको हो । २००५ मा बनेको यस फिल्मले ओस्कारको विदेशीभाषी फिल्ममध्ये उत्कृष्ट अवार्ड जितेको थियो । प्रवेश गरौं फिल्मको कथा र त्यसको सन्दर्भमा । खासमा त्सोत्सी सहरको चोर मात्रै होइन, ऊ हिंस्रक हत्यारा पनि हो । ऊ केही रुपैयाँका लागि मान्छेहरूको ज्यानै लिन्छ । सामान्यतः मान्छेप्रति कुनै मानवीयता देखाउँदैन । प्रेम, करुणा र सद्भाव देखाउँदैन । फिल्मको ‘सेट अप’ मै रेलभित्रको भीडमा त्सोत्सी र उसका साथीहरू एक जनालाई पच्छ्याउँदै लुट्न पुग्छन् । यात्रुको भीडमा छिरेर त्सोत्सी एक जनाको हत्या गर्छ र पैसा चोर्छ । पछि साथीहरूसँग त्सोत्सीको झगडा पर्छ । साथीलाई निर्घात कुट्छ र भट्टीबाट भागेर ऊ टाढा पुग्छ ।
...
त्सोत्सी टुहुरो र एक्लो छ । ऊ सानै छँदा उसकी आमाले एचआईभीका कारण ज्यान गुमाएकी थिइन् । बाबु हिंस्रक थिए । त्सोत्सी बाबुदेखि डराउँथ्यो । उसले आमाको माया महसुस गर्न पाएन । आमाको स्तनपान पनि गर्न पाएन । बाबुबाट त उसले कुटाइ र पीडा मात्रै पाएको थियो । उसले सानैमा घर छाडेर हिँड्नुपरेको थियो । अन्ततः ऊ एक लुटेरा समूहको नाइके बनिसकेको थियो ।
जोहानेसबर्ग समृद्ध हुँदै जाँदा त्सोत्सी भने दिनदिनै हिंस्रक र कठोर बन्दै गएको थियो । उसको समूह झन् आक्रामक र आपराधिक बन्दै थियो । ऊ लुटेराबाट हत्यारा बनिसकेको थियो । चोरी–लुटपाट उसको जीवनशैली थियो, जहाँबाट ऊ पछाडि फर्किने ठाउँ थिएन ।
एक छिन कथाभित्रै पसौं । त्सोत्सी एउटा गाडी चोर्न पुग्छ । महिला चालक चिच्याउँछिन्, तर उनको खुट्टामा गोली हानी कार चोरेर ऊ भाग्छ । कार कुदाएर धेरै पर एकान्तमा पुगेपछि कार पछाडिको सिटबाट दूधे बच्चा (शिशु) रोएको आवाजले त्सोत्सीलाई झस्काउँछ ।
बच्चाको अनपेक्षित आवाजले उसलाई रोकिन बाध्य बनाउँछ । बच्चालाई कार्टुनभित्रै राखि फेरि गाडी कुदाउन खोज्छ । तर, बच्चाको रोदनले उसलाई फेरि रोक्छ । बच्चा फकाउने प्रयास गर्दा पनि नथामिएपछि अन्ततः खुला चौरमा कार छाडेर ऊ बच्चा बोकेर हिँड्छ ।

चोरेको कारभित्र भेटिएको बच्चा हुर्काउन एउटा लुटेराले कस्तो संघर्ष गर्छ ? फिल्मको कथा यसैवरिपरि घुम्छ । त्सोत्सी आफैँ पनि सडकमै हुर्किएको एक युवक हो । ऊ हुर्किएको ठाउँमा अहिले पनि टुहुरा बालक खेलिरहेकै छन् । त्सोत्सी त्यो शिशुलाई सुरुमा तिनै सडक बालकको जिम्मा लगाउन खोज्छ । तर, उनीहरूले नमानेपछि आफ्नै घर लैजान्छ ।
चोरेर पेट पाल्ने लुटेराले सम्भ्रान्त परिवारको एक शिशुलाई कसरी हुर्काउला ? फिल्मको मूल जरो यसैमा छ । अवोध शिशुले नामुद लुटेराको जीवन कसरी बदलिदिन्छ ? उसको मन कसरी गलाइदिन्छ ? सहरले सुकुम्बासी बनाइदिएका परिवारका टुहुरा युवक कसरी चोर र हत्यारा बन्न सक्छन् ? र, निःस्वार्थ प्रेमले उनीहरूलाई कसरी बदलिदिन्छ ? यसको साङ्गोपाङ्गो फिल्म ‘त्सोत्सी’ ले देखाउँछ । अभाव, क्रोध, हिंसा र एक्लोपनबाट हुर्किएको पात्रको गहिरो कथा फिल्मले भन्छ । एक लुटेरा र हत्याराभित्र लुकिबसेको प्रेम–करुणाले दर्शकलाई तानिरहन्छ ।
खलनायकलाई केन्द्रीय पात्र बनाएका थोरै फिल्ममध्ये त्सोत्सी एक हो । र, खलनायक अर्थात् लुटेराले पनि दर्शकको सहानुभूति बटुल्न सक्छ । ग्याबिन हुड निर्देशित यो फिल्म एथोल फुगार्डको उपन्यासमा आधारित छ ।
फिल्मले मानवीयता र प्रेमको उच्चतम अनि सुन्दर पक्ष देखाउँछ । समाजमा गलत प्रवृत्तिका मानिसलाई आम मानिसले जसरी हेर्छन्, त्यस्तो मनस्थिति बनाएर वा कुनै पूर्वसर्त राखेर यो फिल्म हेर्नु सम्भवतः उचित हुँदैन । फिल्मको निचोड छ– हरेक मानिस प्रगति र रूपान्तरणबाट उन्नत बन्दै जान्छ ।
त्सोत्सीले संघर्ष मात्रै गरेको छैन, उतारचढावसँगै उसको तीव्र प्रगति पनि देखिएको छ । सामान्यतः पात्र सुरुमा जस्तो सोचाइ र मनस्थितिमा हुन्छन् त्यही अवस्था र सोचाइको तह फिल्मको अन्त्यसम्म पुग्दा परिवर्तन हुनुपर्छ भनिन्छ । त्सोत्सीको मनस्थितिलाई एउटा शिशुको आगमनले युटर्न गरिदिन्छ । चोरभित्रको उन्नत अनुहारसँग दर्शकहरू एकाकार हुन सक्छन् ।
फिल्मले आधुनिक अफ्रिकी सहरको विद्रूप रूप पनि देखाउँछ । आक्रोश र निराशा एकैचोटि आउँछन् । मूलतः एकै पात्रको कथा सुरुदेखि अन्त्यसम्मै सुन्दर ढंगले बुनिएको छ, जहाँ अरू पात्र सहयोगी भएर आउँछन् ।
त्सोत्सी कारमा भेटिएको बच्चालाई आफ्नो साँघुरो कोठाभित्र लैजान्छ । त्यहाँ सुताएर ऊ बजार निस्किन्छ । फर्केर आउँदा बच्चा चिच्याइरहेको हुन्छ । दिसा–पिसाबले निथ्रुक्क भिजेको बच्चाको दिसा पुछेर पत्रिका बेरेर ड्राइपट बनाइदिन्छ । त्यही पत्रिकामा लेखिएको छ– कुकुरका लागि मान्छेको हत्या ! त्यस क्षण बच्चा हुर्काउने जिम्माले त्सोत्सी अत्यन्त निराश देखिन्छ ।
ऊ छिमेकी महिलासँग बच्चालाई दूध पिलाइदिन आग्रह गर्छ । महिलाले नमानेपछि उसको निधारमा गोली तेर्स्याउँछ । बच्चाले दूध पिइरहेको दृश्य सानैमा आमा गुमाएको टुहुरो त्सोत्सी हेर्न सक्दैन ।
‘त्सोत्सी’ बनेको आज १५ वर्ष पुग्यो । यो सुन्दर कथा अझै कैयौं वर्ष उत्तिकै सान्दर्भिक हुनेछ । न्यूनतम रकममा खिचिएको यो फिल्म आज पनि बहस–विमर्शको केन्द्रमै छ ।
सीमित प्रविधि र टिममार्फत काम गरिएको यो फिल्मबाट सिक्नुपर्ने तीन पक्ष छन्– थोरै लगानीमा पनि आफ्नो कथा शानदार ढंगले भन्न सकिन्छ, फिल्म खिच्नुअघि व्यापक काम गर्नु जरुरी हुन्छ र कथासँगै चरित्र निर्माण, अभिनयलगायत थुप्रै अभ्यासले राम्रा फिल्म सम्भव छन् ।
फिल्मले ओस्कार जितेपछि यसको टिमले भनेको थियो– उनीहरूले प्रविधिभन्दा मानवीय भावनाका पक्षमा सूक्ष्म काम गरेका थिए ।
बदला, घृणा र क्रोध मायामा बदलिएको छ फिल्ममा । घृणा, बदला, हिंसा र अस्थिरताले त्सोत्सीलाई कति कठोर बनाएको छ भने फिल्म अवधिभर एकपटक पनि ऊ हाँस्दैन । तर, उसको गहिरो भावना र संवेदनाका पत्रहरूले दर्शकलाई पगाल्छन् ।

Page 13
कोसेली

इतिहासको वर्तमान

- रवीन्द्र ढकाल
राष्ट्रिय अभिलेखालयमा राखिएको विसं १९९० को भूकम्पको कागजात

विभिन्न कालखण्डमा अभिलेख संकलन गर्ने अनेकन अड्डा थिए, जसको आधुनिक स्वरुपमध्येको हो— राष्ट्रिय अभिलेखालय । इतिहासमा अनेक उपायबाट जोगिएका महफ्वपूर्ण दस्तावेज अभिलेखालय आइपुगेका छन् । पाँचौं शताब्दीको बौद्ध धर्म र जयस्थिति मल्लको न्याय विकाससम्बन्धीको पुस्तक, आठौं शताब्दीअघिका दशभूमीश्वर, स्कन्दपुराण, सद्धर्मपुण्डरिकसूत्र पनि यहीं भेटिन्छन् ।


सर्वोच्च अदालतछेउकै राष्ट्रिय अभिलेखालयभित्र छिर्दा मक्किएका नेपाली कागजमा हात र आँखा एकसाथ डुलाइरहेका थिए, दुई जनाले । तिनको लय नबिगारी म नजिक पुगेँ ।
‘के खोज्नुभएको ?’ मैले सोधें ।
‘बाजेको नामको लालपुर्जा,’ तीमध्ये एकले जवाफ दिए ।
उनीहरू थिए— विकास राई (बाबु), मोहन राई (छोरा) । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट आएका । विसं १९९३ मा बाजेले नाप गराएको जमिन २०३२ को नापीमा नभेटेपछि उनीहरू अभिलेखालय आइपुगेका थिए । सरकारी प्रशासनले पोको पारेर ल्याएका चीजबिज सामान्यजनका लागि त यति बहुमूल्य हुन्छन् भने देश–समाजका लागि त झनै बहुमूल्य हुने नै भए । तर, पुराना दस्तावेज, अभिलेखहरूको महत्त्व राई बाबु–छोराले झैं सम्बन्धित निकायले बुझेको छ त ?
...
कोभिडकालअघिको कुरा । पहिलो लकडाउनअघि म अभिलेखालय धाइरहन्थेँ । त्यहाँ के–के रहेछ भन्ने खुलदुलीले म डोरिएको थिएँ । कैयौं दिन म ती सामग्रीहरूमै हराएँ । केही लेख्न भनेर छिरेको म त्यहाँ लामै समय बिताएकाले के लेख्ने, के नलेख्नेको दोधारमा रहिरहेँ । मनमनैको रिपोर्ट, अनुभव बनेर लामो समय थन्किरह्यो । अहिले त्यसै अनुभवको फेद–टुप्पो समाएर यहाँ फुकाउन खोजेको छु ।
तपाईं हामीलाई थाहै छ, जवाफ दिनुपर्ने ठाउँमा रहेका परराष्ट्रमन्त्रीसम्मले हालै सुगौली सन्धिलगायतका दस्तावेजहरूको सक्कल कहाँ छ भनेर प्रश्न गरे । सरकारले नै नभेट्टाउने गरी बेपत्ता भएका दस्तावेजहरू, जसरी मूर्ति फिर्ती अभियानले अहिले रफ्तार पक्डिरहेछ, त्यसै गरी ‘दस्तावेज बेपत्ता आयोग’ बनाएरै यतापट्टि पनि कुद्नैपर्ने भएको छ । बेपत्ता भएका त गइहाले, बाँकी भएकाहरूलाई पनि प्रयोगमा नल्याउँदा, चलनचल्तीको इतिहासमा नयाँ–नयाँ सन्दर्भहरू जोड्दै लैजान सकिएको छैन ।
इतिहासका विभिन्न कालखण्डमा अभिलेख संकलन गर्ने अनेकन अड्डा थिए, जसको आधुनिक स्वरूप हो— राष्ट्रिय अभिलेखालय । यसले सार्वजनिक तथा प्राथमिक दस्तावेजहरू थुपार्ने, सुरक्षा दिने र प्रयोगयोग्य बनाउने जिम्मा पाएको छ ।
यसको पुरानो रूपमध्येको एक, कुमारीचोक अड्डा मल्लकालमा राज्यको ढुकुटीमा हुने अनियमितता तथा हिनामिना नियन्त्रण एवं लेखापरीक्षण गर्न स्थापना भएको मानिन्छ । यसलाई विधिवत् भने पृथ्वीनारायण शाहले बनाए । उनले त्यसबेला ठाउँठाउँमा हिसाब जाँच गर्ने टोल खडा गरी वसन्तपुरको कुमारीदेवी रहेको मन्दिरमा मूलजाँचकीको नाममा हिसाब जाँच अड्डा स्थापना गरेका थिए । मल्ल एवं शाह राजाहरूले पूजापाठ प्रयोजनका लागि ग्रन्थहरू संकलन गर्ने गर्थे, ती धेरै हस्तलिखित हुन्थे, गुठी परम्पराले यस्ता ग्रन्थहरूलाई सुरक्षा दिइरह्यो । लामो समय कसो–कसो गरी जोगिएका यस्ता सामग्री अभिलेखालय आइपुगेका छन् । पाँचौं शताब्दीको बौद्ध धर्म र जयस्थिति मल्लको न्याय विकाससम्बन्धीको पुस्तक, आठौं शताब्दीअघिका दशभूमीश्वर, स्कन्दपुराण, सद्धर्मपुण्डरिकसूत्र पनि यहीं भेटिन्छन् ।
पृथ्वीनारायण शाहको शासनकालमा हिसाबकिताबका संरचनाहरू देशैभरि फैलन थालेको भनिन्छ । सँगैसँगै अभिलेख पनि उत्पादन भयो । वीरशमशेरको पुस्तकालय हुँदै यी सामग्री २०२४ सालमा अभिलेखालयको विधिवत् स्थापना भएपछि यहाँ थन्किएका छन् । २०४६ सालमा अभिलेख संकलन गर्ने जुनसुकै सरकारी निकायले २५ वर्ष पुराना काजगपत्र अभिलेखालयलाई दिनुपर्ने व्यवस्थासहित अभिलेखालय संरक्षण ऐन आयो । तर, ऐनको व्यवस्थाअनुरूप कागजात भने अभिलेखालय आइपुगेका छैनन्, सरकारी कार्यालयले दिँदैनन् पनि । अभिलेखालय र सरकारी निकायबीच यही विषयमा बेलाबेला घम्साघम्सी परेको सार्वजनिक पनि भइरहन्छ ।
ऐन बन्नुभन्दा अगाडिका, विशेषतः राणाकालको उत्तरार्द्ध र पञ्चायतकालको पूर्वार्द्धसम्म सिन्धुलीमा मात्र होइन, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, सुर्खेत, दैलेख, डडेलधुरा, डोटी, बाजुरा, अछाम, बझाङ, सल्यान, रोल्पा, दाङ, प्यूठान, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, तनहुँ, लमजुङ, स्याङ्जा, नुवाकोट, रसुवा, दोलखा, उदयपुर, भोजपुर र पाँचथरका प्रशासनिक कार्यालयमा जम्मा भएका कागजपत्र अभिलेखालयमा छन् । ती दस्तावेजहरू राज्यसँगको कागजी कारोबार भए पनि, यिनबाट समाजकेन्द्रित इतिहास पनि सँगसँगै पहिल्याउन सकिन्छ ।
सामाजिक इतिहासका भिन्न–भिन्न पाटाबारे अध्ययन गरिरहेकी वन्दना ज्ञवाली अचेल जिल्ला प्रशासन कार्यालय, पाल्पामा रहेका सन् १९५९ का कागजातहरूमा घोत्लिरहेकी छन् । उनले त्यहाँको मोटरबाटो निर्माण, टेलिफोन जडान र अदालतलाई फर्निचर दिने बेहोराका कागजात भेटेकी रहिछन् । सन् १९६३ को अर्को कागजपत्र त्यहाँको मोहनकन्या विद्यालय निर्माणसम्बन्धी रहेछ । डोटी, जुम्ला र पर्वतबाट महिला दासहरू, मजदुरका गुनासाहरूसँग सम्बन्धित कागजपत्रहरू पनि फेला पारेकी छन् । मसँग उनको जस्तो अभिलेखालय जानुको एउटै मात्र उद्देश्य थिएन । तर, प्राथमिक दस्तावेजहरूमा अनुसन्धाता ज्ञवालीजसरी एकोहोरिने धैर्य भएकालाई सामाजिक–सांस्कृतिक इतिहास पहिल्याउन पर्याप्त स्रोत अभिलेखालयमा छन् ।
अब राई बाबु–छोरा भेटकै दिनमा फर्कौं, उनीहरूसँगको कुराकानीपछि म अभिलेखालयको क्याटलग हेर्न गएँ । छुट्टाछुट्टै ढड्डामा ऐतिहासिक चिठी, भूमिसम्बन्धी तमसुक, कौशितोषखानाबाट प्राप्त लालमोहरहरू र परराष्ट्र मन्त्रालयका कागजातहरूको सूची थिए त्यहाँ । विषयसूचीको छेउमा डिजिटल भइसकेका कागजातको रिल नम्बर थियो, नभएकाहरूका कोठा र पोका नम्बर । डिजिटल कपी माइक्रोफिल्म शाखामा हेर्न मिल्छ, ठूलो स्क्रिनमा हाते लुगा सिलाउने कलको बिँड घुमाएजसरी ती रिल घुमाउँदा दस्तावेजहरूको डिजिटल कपी पनि घुम्छ । प्रकाशनकै समयदेखिका ‘गोरखापत्र’ तथा हुलाक टिकटहरू, केशर पुस्तकालय र विभिन्न क्षेत्रका मठ–मन्दिर, गुम्बाहरू तथा विभिन्न व्यक्तिको निजी संग्रहमा संरक्षित मूल ग्रन्थहरूलाई माइक्रोफिल्ममा उतारी यहाँ संग्रह गरिएको छ । मैले हेर्दै गर्दा भेटेका केही रोचक बेहोराका चिठी यस्ता थिए— पठाउने : अहमद खाँ, बेहोरा : ‘हात्ती पठाइ दिनु’, पाउने : पृथ्वी नारायण शाह≤ पठाउने ः श्री जयप्रकाश, पाउने ः
पृथ्वीनारायण शाह, बेहोरा : ‘भोटमा गोर्खा र काठमाडौंमा वकिल राख्ने बारेको धर्मपत्र र त्यसको नक्कल’, विसं १८१४ पौष वदी ९ रोज ३≤ पठाउने : पृथ्वीनारायण शाह, पाउने : मुकाम नुवाकोट राजधानीबाट काभ्रे सुनथान फूलबारी र नाम्राका द्वारेहरू, बेहोरा : ‘लडाइँमा मद्दत पठाउने बारे’, मार्ग वदी ४ रोज ४ (साल थिएन)≤ पठाउने : श्री छो आपोजोर ढेवा नरु ढेवा फंजोराप्तुन कुती, पाउने : पृथ्वीनारायण शाह, बेहोरा : ‘सुनको भाउ बारे’, विसं १८१२ पौष सुदी १४ रोज ६ ।
३५ रुपैयाँ तिरेपछि नेपाली नागरिकले त्यसका डिजिटल कपी हाताहातै पाउन सक्छन्, विदेशीले भने ६५ रुपैयाँ तिर्नुपर्छ । २०२८ सालमा सुरु भएको नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत माइक्रोफिल्म बनाइएका हुन्, यसको एउटा कपी जर्मनीमा पनि छ र जर्मन नागरिकले नै यस्ता अभिलेखको नक्कल लिनुपर्‍यो भने यही रकममा यसरी सजिलै त्यहाँ हेर्न पाउँदैनन् । अभिलेखालयको अर्को प्रयोगकर्ता सस्तोमा अभिलेखको नक्कल लिन आउनेहरू पनि हुन् ।
दस्तावेजलाई डिजिटल बनाउने प्रक्रिया निकै सुस्त गतिमा अघि बढेझैं लाग्छ, अझै पनि । कुमारी चोकका धुजा–धुजा परेका दस्तावेज डिजिटल बनाउनुअघि ती कागज फुकाइन्छ, आइरन लगाएर सोझ्याइन्छ र फोटो खिचेर त्यसलाई नकुहिने बट्टामा सर्लक्क राखिन्छ अनि त्यस्ता बट्टाहरू अभिलेखालयको कुनै भवनमा थन्क्याइन्छन् ।
माइक्रोफिल्म हेरिसकेपछि मैले कुमारीचोक अड्डाको १९९० सालको भूकम्पसम्बन्धी दस्तावेज र १९९३ सालतिरको सनद भएको पोका हेर्न निवेदन दिएँ । ती दस्तावेज छुट्टै भवनमा राखिएका छन् । कर्मचारीले म बसिरहेको रिडिङ रुममा रातो पोको ल्याइदिए । बाहिरको कपडा खोल्नेबित्तिकै गुजुमुज्ज परेका भूकम्पसम्बन्धी कागजपत्रमा ९० सालको भूकम्पले काठमाडौं उपत्यकामा पुर्‍याएको जनधनको क्षतिका एकएक विवरण थिए । च्यातिन्छ कि भन्ने डरले खोलिनँ, बाहिरबाटै नियालेँ । हामीले ९० सालको भूकम्प ब्रह्मशमशेर जंगबहादुर राणाको किताबमा पढ्यौं, अरू सामग्री भेट्न मुस्किलै छ । यस्ता सामग्रीलाई परिमार्जन गरे, यसबाट तत्कालीन समाजका धेरैखाले जानकारी आउँथे । यी कागजातले त्यसबेला काठमाडौं उपत्यकामा भएको क्षति र दिइएको राहतबारे जानकारी दिन्छन् । उसबेला राज्यले कसरी रेकर्ड राख्थ्यो, भूकम्पको व्यवस्थापन कसरी गर्‍यो, यिनै दस्तावेज बोल्छन् ।
कुमारीचोककै अर्को पोकामा सनदका चाङ छन् । पानैपिच्छेका अक्षर फरक–फरक छन्, लेख्नेले पनि फेरि पढ्यो भने नबुझिने खालका । त्यो खुट्याउन मलाई मुस्किलै पर्‍यो । त्यहाँ दुई पैसाको मिठाई किन्दाको पनि सनद थियो । श्री ३ महाराजले ‘त्यसका लागि यति पैसा दिनु’ भनेपछि मात्रै सनद जारी हुँदोरहेछ । राणाहरूले आफ्नो दरबार बनाएपछि पूजाका लागि सिन्दूर, अक्षता, सुपारी किन्नसमेत राज्यकोष प्रयोग गरेको विवरण भेटियो । कुनै इतिहासकारले खोज्ने जाँगर चलाउने हो भने यहाँको सनदमा दरबार बनाउँदा कति मान्छे लागे, खर्च कति भयो, मान्छेहरू कहाँकहाँबाट आए भन्ने पाईपाई हिसाब निकाल्न सकिन्छ । यी सनदबाट संगीत, फोटोग्राफी, खेलकुद, साहित्य–नाटक आदिमा राणा प्रशासनले गरेका खर्चका आधारमा तत्तत् इतिहास प्रस्ट बनाउन सकिन्छ । कथा हालेर लेखिएका इतिहासलाई तथ्यसँग भिडाउन पनि यी कागजपत्र चाहिन्छन् ।
यहाँका हरेक महत्त्वपूर्ण कागजपत्रभित्र पस्ने उपयुक्त वातावरण इतिहासकार वा विद्यार्थीहरूले पाए भने हाम्रै इतिहास फराकिलो हुने थियो । अभिलेखालयमा इतिहासकारहरूसँग खासै जम्काभेट भएन । महेशराज पन्त, दिनेशराज पन्त र काशीनाथ तमोट अभिलेखालयका नियमित प्रयोगकर्ता हुन् भन्ने त्यहाँका कर्मचारीबाट थाहा पाइयो ।
अभिलेखालयमा मैले सजिलै र छिट्टै दस्तावेजहरू हेर्न पाएँ । यस अर्थमा हाम्रो अभिलेखालय सहज छ । तर, ज्ञान उत्पादनमा यसको भूमिका विस्तार भएको छ/छैन ? यो प्रश्न पनि सामुन्ने छ । यहाँको अभिलेखबाट हालसम्म कतिले थेसिस गरे ? कति किताब छापिए ? लेख कति आए ? सरकारी प्रयोजनका लागि यसको कति प्रयोग भइरहेको छ ? यी रेकर्ड अभिलेखालयसँग छैन । रेकर्ड नभएपछि, यसको सार्वजनिक उपस्थिति कस्तो छ भन्ने आकलन गर्न पनि मुस्किल पर्छ । अभिलेखालयका पुराना लिपि पढ्नुपरे त्यो लिपीका अक्षर बुझाउने मान्छे कोही भेटिँदैनन्, त्यसका लागि कर्मचारी–दरबन्दी भएपनि त्यो पुर्ति भएको छैन । र, अभिलेखालय–पुस्तकालयका किताबहरू भूइँमै असरल्ल भेटिन्छन् ।
...
‘अभिलेखालय उपयोगी छ है’ भन्ने तर्क दिन सजिलो छ । तर, त्यो तर्कलाई सिद्ध गर्न न अभिलेखालयले सकेको छ, न प्रयोगकर्ताले । यसको जति प्रयोग हुनुपर्ने हो, त्यो भएको छैन वा हुने वातावरण नै बनाइएको छैन । उपयोगिता नै सिद्ध नभएपछि अभिलेखालयमा जे–जे भए पनि कसलाई के मतलब ?


माइक्रोफिल्म शाखाको पुरानो दस्तावेज हेर्ने स्क्रिन 

कोसेली

सम्झिएर प्रेमध्वज

मैले मामालाई पानी खुवाइदिएँ । हेर्दाहेर्दै उहाँले आँखा चिम्लनुभयो । मामाको हात समाउँदै उहाँलाई बोलाइरहेँ । तर अहँ, उहाँ बोल्नुभएन ।प्रेमध्वजको अन्तिम समयको एक्लो साक्षी बन्न पुगें म ।
- भुवन मास्के

प्रत्येक वर्ष साउने सोमबार हामी सपरिवार पशुपति पुग्थ्यौं । त्यो दिन पनि त्यसै गरी पुग्यौं, जसरी पहिले पुग्थ्यौं । मन्दिर प्रांगणमा प्रेमध्वज मामा सबैभन्दा अगाडि हुनुहुन्थ्यो । मन्दिरभित्रबाट पशुपतिनाथका पुजारी बाहिरिँदै हुनुहुन्थ्यो । प्रेमध्वज मामालाई देख्नेबित्तिकै उहाँले नमस्कार गर्नुभयो । र, चन्दन, फूलमाला–प्रसाद लगाइदिनुभयो ।
उक्त दृश्य हामीले आश्चर्य मान्दै हेरिरहेका थियौं । उहाँहरूबीच केही समय कुराकानी भयो ।
‘हस् त प्रेमध्वजजी, फेरि भेटौंला,’ बाँकी प्रसाद मामाको हातमा राखिदिँदै पुजारीले भन्नुभयो । र, मन्दिरभित्र पस्नुभयो ।
यी दृश्य देखिरहेकी मैले हत्तपत्त मामाको हात समाउँदै सोधें, ‘मामा, तपाईंले त पशुपतिनाथको पुजारीलाई पनि चिन्नुहुँदोरहेछ हगि ?’
प्रेमध्वज मामाले सहजै भन्नुभयो, ‘ए तिमी पनि, उहाँ फत्तेमानजी त हो नि, तिमीले स्वर मात्र सुनेको भएर नचिनेकी हौ ।’
उहाँलाई सुनेर म छक्क परें । अवाक् नै बनें ।
गायक फत्तेमान राजभण्डारीलाई मैले यसरी पहिलोपटक पशुपतिनाथको पुजारीका रूपमा मन्दिरभित्र देखेकी थिएँ । अहिले पनि सम्झना ताजै छ, त्यो दिन । त्यो घटना ।
सरल स्वभाव, नम्र बोली र मुस्कुराएर कुरा गर्ने प्रेमध्वज मामाका लगभग समकालीन साथीहरूलाई नजिकबाट जान्ने–चिन्ने मौका पाएँ मैले । तर, अहिले भौतिक रूपमा उहाँ हामीमाझ हुनुहुन्न । यसो भन्नुपर्दा छाती गह्रौं हुन्छ । विश्वास गर्न कठिन हुन्छ ।
अमेरिकन लाइब्रेरीमा जागिरे छँदा साँझ ढिलासम्म घर आइपुग्नुभएन भने माइजू अनुमान लगाइहाल्नुहुन्थ्यो, ‘ल आज पनि फिल्म हेर्न जानुभयो ।’ हुन पनि त्यसै हुन्थ्यो, त्यो दिन मामा फिल्म हेर्न जानुभएकै हुन्थ्यो ।
पछि जागिरबाट अवकाश लिएपछि दाइ (प्रेमध्वज मामाका छोरा) हरूलाई पुर्‍याउन मामा अमेरिका जानुभयो । र, पूर्वकर्मचारी भएकाले अमेरिकी ग्रिनकार्ड पाइहाल्नुभयो । तर, नेपालै बस्नुभयो ।
ग्रिनकार्ड नवीकरण गर्न भने प्रेमध्वज हरेक वर्ष २०/२५ दिनलाई अमेरिका पुग्नुहुन्थ्यो । अनि फर्किहाल्नुहुन्थ्यो । तर, प्रत्येक वर्ष नवीकरण गर्नुपरेपछि मामालाई अमेरिका गइरहन मन लागेनछ क्यार, ग्रिनकार्ड नै त्यागिदिनुभयो । अहिले नेपाली कलाकारले अमेरिका भास्सिएर ग्रिनकार्ड पाउन अनेक उपाय गरेको देख्दा मलाई प्रेमध्वज मामाको सम्झना आउँछ । साधारण पहिरन, सकेसम्म जहाँ पनि हिँडेरै पुग्न मन पराउने, शाकाहारी, फलफूल–दूध अति मन पराउने प्रेमध्वज सादा जीवन, उच्च विचारका उदाहरण हुनुहुन्थ्यो ।
सफलता आर्थिक सम्पन्नताले होइन, लगनशीलताबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रेमध्वज हुनुहुन्थ्यो । त्यसैले त आफैंले मिहिनेत गरी कमाएको सम्पत्तिबाट बनाएको बागबजारस्थित घरमा बस्नुभयो । छोरा पढेर इन्जिनियर बनोस्, आफ्नो व्यापार व्यवसायमा लागोस् भन्ने इच्छा थियो बुबा रत्नध्वज प्रधानको । बुबाको इच्छाविपरीत संगीत क्षेत्रमा लाग्नुभयो प्रेमध्वज । र, जीविकोपार्जनका लागि छोराले जागिर खाएको पटक्कै नरुचाउने रत्नध्वजले प्रेमध्वजको संगीत क्षेत्रप्रति कहिल्यै रुचि राख्नुभएन । यति मात्र होइन, जीवनकालभरि नै छोराको गीत सुन्नुभएन । न त छोराको कुनै कार्यक्रम हेर्नै जानुभयो । आफ्नो गायन एवम् संगीतप्रति बुबाले नामसमेत उच्चारण नगर्दा पनि प्रेमध्वजले बुबालाई सधैं सम्मान गरिरहे । धनले सुविधा मात्र दिन्छ, आत्मसन्तुष्टि मिहिनेतबाट मात्र पाउन सकिन्छ भन्ने विचार थियो प्रेमध्वजको ।
जागिरबाट अवकाश लिएलगत्तै १९/२० वर्षजत्ति उहाँ मालपोत, जिल्ला अदालत, पुनरावेदन र अनि सर्वोच्च अदालत धाइरहनुभयो । काकासँग उहाँको अंश–मुद्दा परेको थियो । पेसी तारिख पर्दा जब उहाँ अदालतको बेन्चमा चुपचाप बसिरहनुहुन्थ्यो, वरपर बसेकाहरू भन्थे, ‘कति दुःख पाउनुभएको प्रेमध्वजजी, ढुक्क हुनुस्, तपाईंले पक्कै न्याय पाउनुहुनेछ ।’ जीवनमा जब यी सबै कुरा हुँदै थिए, संगीतप्रति प्रेमध्वजको लगनमा कहिल्यै कमी आएन । बिहान–बेलुका गर्ने रियाजमा पटक्कै असर परेन ।
...
एकपटक मुद्दाको सिलसिलमा हामी अदालतमा थियौं । खबर आयो— घरमा गायिका तारादेवी आउनुभएको छ । तारादेवीले प्रेमध्वजसँग धेरै नेपाली युगल गीत गाउनुभएको छ । मुद्दा सुरु हुन लागेकाले बीचमा छाडेर आउन मिलेन । प्रेमध्वज मामालाई फसाद पर्‍यो । मामाले फोनमा तारादेवीलाई भन्नुभयो, ‘तारा म अदालतमा छु, के गर्ने, तिमीलाई कुराउनुपर्‍यो ।’ गायिका तारादेवी, संगीतकार नातिकाजी अनि किरण खरेल प्रेमध्वजलाई ‘ध्वज’ भनी सम्बोधन गर्नुहुन्थ्यो ।
प्रेमध्वजका कुरा सुनेर तारादेवीले भन्नुभयो, ‘ध्वज, तिमी काम सकाएर आऊ । म यहीँ तिम्रो घरमा कुरिरहन्छु ।’ हामी अदालतको काम सकेर घर पुग्दा तारादेवी कुरिरहनुभएको थियो । दिनैभर उहाँ कुरेको कुर्‍यै हुनुभएछ ।
...
बिहान रियाज सकेलगत्तै आठ बज्दा–नबज्दै न्युरोडको अफिस पुगिसक्ने प्रेमध्वज अफिसबाट सीधै बांगेमुढास्थित बुबाको घरमा जानुहुन्थ्यो । संगीतसँग सम्बन्धित कार्यक्रम भए त्यसमा सहभागी भई घर फर्कंदा ढिला भइसक्थ्यो, जसले घरमा परिवारसँग कुराकानी गर्ने समय निकै कम मिल्थ्यो । जागिरबाट अवकाश लिएपछि घरपरिवारलाई बढी समय दिनुहुन्छ कि भन्ने माइजूको चाहना पनि पूरा हुन सकेन । किनभने त्यसपछि उहाँ झन् बढी कार्यक्रममा सहभागी हुन थाल्नुभयो— कहिले गीतको रेकर्डिङ त कहिले कोसँगको भेट !
एउटा लक्ष्मीपूजाका दिन हामी मामाको प्रतीक्षामा थियौं । त्यस दिन पनि उहाँ ढिलो आइपुग्नुभयो । माइजूको धैर्य टुटेपछि भन्नुभयो, ‘तपाईं यसरी चाडपर्वमा समेत घरपरिवारलाई वास्ता नगरी बाहिरी कार्यक्रममा मात्र जानुहुन्छ भने म पनि बाहिर जान्छु ।’ म चुपचाप उहाँहरूका कुरा सुनिरहेकी थिएँ । मैले माइजूलाई भनें, ‘माइजू, बाहिर जाँदा मलाई पनि सँगै लैजानुस् है ।’
माइजूले भन्नुभयो, ‘अहँ, लैजान्नँ । तिमी आफ्नै मामासँग जाऊ ।’ मामा मात्र हाँसिरहनुभयो ।
दुवै दाइ अमेरिकामा पढिरहनुभएको थियो । छुट्टीमा मात्रै नेपाल आउनुहुन्थ्यो । विशेष गरी जेठा दाइ प्रसन्न मलाई विभिन्न बहानामा जिस्क्याइरहनुहुन्थ्यो । भर्‍याङ ओर्लिंदै गर्दा बीचमा पुगिनसक्दै भर्‍याङको बत्ती निभाइदिने र विभिन्न स्वरमा मेरो नाम बोलाउने गर्नुहुन्थ्यो । म अँध्यारो र अनि फरक स्वरमा बोलेको सुन्दा निकै डराउँथे । मेरो बानीबारे प्रेमध्वज जानकार हुनुहुन्थ्यो । त्यसैले उहाँले उपाय निकाल्नुभएछ । एक दिन भन्नुभयो, ‘हेर, मैले एउटै बत्तीको स्विच दुवैतिरबाट बाल्न मिल्ने बनाइदिएको छु । एक ठाउँबाट निभाए पनि अर्को ठाउँबाट सोही बत्ती बाल्न मिल्छ ।’ त्यो बत्ती अहिले पनि बागबजारस्थित उहाँको घरमा यथावत् छ । जब म त्यो बत्ती बाल्छु, मामाको साह्रो याद आउँछ । परिवारको स–साना समस्या बुझ्ने मामाको स्वभावमा कहिल्यै परिवर्तन आएन । विशेष गरी मेरो पढाइप्रति उहाँ निकै चासो राख्नुहुन्थ्यो ।
आफूले कुनै गीत गाएबापत पाएको पारिश्रमिक होस् या पेन्सन अथवा पुरस्कारमा पाएको रकम नै किन नहोस्, घरका सम्पूर्ण सदस्यलाई ‘तिमीहरू रमाइलो गर’ भन्दै बाँड्नुहुन्थ्यो । मलाई त्यो उहाँले दिएको पैसा होइन, प्रसाद हो भन्ने लाग्थ्यो । पछिल्लो समय गीतकार दुबसु क्षेत्रीको शब्द रहेको ‘कहिले उत्सवजस्तो, कहिले उमंगजस्तो मेरो जिन्दगी गीत’ तयार हुँदा आठ मिनेट २४ सेकेन्डको बन्न पुग्यो । प्रेमध्वजले कोरोना–लकडाउनका बेला आफैं संगीत गरेर यो गीत तयार गर्नुभयो । जीवनको त्यो समयमा पनि उहाँले संगीत साधना छाड्नुभएन ।
धैर्यवान्, शान्त, मधुर स्वर, स्वावलम्बी, आत्मनिर्भर अनि सकेसम्म आफ्नो काम आफैं गर्न रुचाउनुहुन्थ्यो मामा प्रेमध्वज । उहाँ सामु नभएपछि उहाँले छाडेर गएका कर्म र गीत सामु छन्, जसले उहाँलाई युगयुगान्तर चिनाइरहनेछन् । प्रेमध्वजले आफूलाई संगीतसाधनामा जीवनभर लगाउनुभयो । निःस्वार्थ रूपमा कसैप्रति कहिले द्वेष भावना राख्नुभएन । अनि नकारात्मकतालाई कहिल्यै
आफ्नो नजिक आउन दिनुभएन । जीवनमा आइपर्ने हरेक चुनौतीलाई सकारात्मक रूपमा लिनुभयो ।
...
२०७८ साल वैशाख २३ गते हाम्रा लागि पीडादायी दिन थियो । त्यो बिहान प्रेमध्वजले मलाई भन्नुभएको थियो, ‘तिमी पीर नगर, म ठीक छु । आनन्द लागिरहेको छ । बरु अलिकति पानी खुवाइदेऊ ।’
उहाँको बोली सुनेर मैले हतपत पानी खुवाइदिएँ । एकछिनपछि मामाले भन्नुभयो, ‘मलाई छातीमा अप्ठ्यारो लाग्यो ।’ म मामाको छातीमाथि हात राख्दै थिएँ । हेर्दाहेर्दै उहाँले आँखा चिम्लनुभयो । म भने एक्लै मामाका हात, छाती समाउँदै उहाँलाई बोलाउँदै थिएँ । तर अहँ, उहाँ बोल्नुभएन । फिटिक्कै बोल्नुभएन ।
म मामा प्रेमध्वजको अन्तिम समयको एक्लो साक्षी बन्न पुगें । 

Page 14
कोसेली

गाउाको कविता (सन् २०१९ को नेपाली गाउा कुनै)

- अविनाश श्रेष्ठ

डराएको–अत्तालिएको हावा छ गाउामा
अनि टाढाटाढासम्म हुरीको पाइतलाका पदचाप पनि ।

बेखबर–बेपर्वाह एक्लै कुदिरहेको हुलाकीजस्तो
दुःखी दिन छ गाउावरपर
परपरसम्म पसारिएको ।

कुनै खतरनाक गुन्डाजस्तै हुलिया भएको समय छ
जसले समातेर बसेको छ आतंकका औंलाहरु ।

त्यसो त जीवनका लागि चाहिने सबथोक छ गाउामा :
मान्छे । पशुपन्छी । पाठशाला । गाविस । वडा कार्यालय ।
निवेदन । भीड । भनसुन । बलमिच्याइा । विभेद ।
मुद्दा । घम्साघम्सी । ताछाड–मछाड । हलचल ।
कुटनीति । लुटनीति । फुटनीति ।
अत्याचार । व्यभिचार । बलात्कार । भ्रष्टाचार ।
सबथोक पुगिसकेको छ गाउामै ।

त्यसैले अचेल जीवनका लागि चाहिने/नचाहिने
सबथोक छ गाउामा :
इन्टरनेट । एन्ड्रोइड मोबाइल फोन । स्मार्ट टीभी ।
गुगल । फेसबुक । ट्वीटर । विकेपिडिया । युट्युब ।
पोर्न भिडियो । साइबर अपराध । अल्टिमेट एक्स्टासीको
भर्चुअल संसार !
सबथोकको सुविधाजनक आपूर्ति र उपस्थिति छ गाउामा ।

अनुपस्थिति छ त — सम्बन्धको मिठासको ।
ढोगभेटको । जुम्ले हातको । आदान–प्रदानको ।
कुराकानीको । पारिवारिक रामकहानीको ।

त्यसो त जीवनका लागि आवश्यक/अनावश्यक
हरेक थोक छ गाउामा
थोकको भाउमा ।

जीवनबाहेक ।
जीवनको सहज–स्वाभाविक लयबाहेक ।
न्यायबाहेक ।
समाधानबाहेक ।
निकासबाहेक ।
विकासबाहेक ।

सबथोक छ गाउामा — सहरमा जस्तै अचेल ।

मुलुकभरि जे–जे छन् विडम्बना
ती सबै अचेल मेरो गाउामै आइपुगेका छन् :
गाविस अध्यक्षको घर — बलियो–बाठो बालुवाटारमा !
वडावडामा एकुन्टा — कुण्ठाग्रस्त श्रापित सिंहदरबार !

कोसेली

‘म धेरै अन्डा फोरेर निस्केको चल्ला’

कथा, उपन्यासमा कविको इमेज यसरी चित्रण गरिएको हुन्थ्यो— प्रतिभासम्पन्न, तर विपन्न ! कुनै उपन्यासमा धनाढ्य केटीले प्रेम गरेकी हुन्छे, तर केटो विपन्न र जहिल्यै शोकाकुल भावको कवि परिदिन्छ । यसले सब कुरा गडबड भइहाल्छ— सिनेमामा देखिनेजस्तै ।
- कान्तिपुर संवाददाता

नेपाली साहित्यमा आख्यान–पुरूषका नामले कहलिएका ध्रुवचन्द्र गौतम आश्चर्यमयी ढंगमा यतिखेर कवि–अवतारमा उदाएका छन्, त्यो पनि उमेर र सृजनाको उँधौलीमा । लेखन सुरुवातका हकमा पहिलो (२०२१), तर प्रकाशनमा पछिल्लो कवितासंग्रह ‘ह्याङ्गरमा झुन्डिएको आकाश’ यसै साता बजारमा आएपछि कवि ध्रुवचन्द्र मनमगन मुद्रामा भेटिएका छन् । २०२१ वैशाखमा संग्रह छाप्नका लागि मदन पुरस्कार पुस्तकालयमा बुझाएकोमा वर्षौं–वर्ष यो पाण्डुलिपि यतै–कतै हराइरहेको थियो । अचानक, ५६ वर्षपछि पुस्तकालयको भण्डारणमा पाण्डुलिपि भेटिएपछि र लगत्तै सांग्रिला बुक्सबाट पुस्तक छापिएपछि कवि ध्रुवचन्द्रको कवि–छवि एकाएक बौरिएको छ– कविजी रुपमा ।
२०१० साल अर्थात् १० वर्षकै उमेरदेखि लेख्न थालेकाले आफू लेखनको आठौं दशकको पूर्वसन्ध्यामा रहेको कुरो सुनाइरहने गौतमसँग पुस २ मा पर्ने उनको ७९ औं जन्मोत्सव अवसरमा यसपटक देवेन्द्र भट्टराईले कवि र कविता संवाद गरेका छन् :

तपाईंमा कवि–चेतना, कवि–आत्मा कसरी प्रवेश भएको थियो ?
यो सबै सम्झन मुस्किल छ, तर एकाएक मभित्र कवि छिरेको थियो । १० वर्षकै उमेरमा कक्षामा बसिरहेका बेला पहिलो कविता ‘सरस्वती बन्दना’ लेखेको सम्झन्छु । त्यहीताका ‘युवर एम इन लाइफ ?’ भनेर कसैले राखेको जिज्ञासामा म आफूलाई ‘आई वान्ट टु बी अ म्युजिसियन’ भन्थें । गायक बन्छु भन्न खोजेको थिएँ, भावार्थ नबुझेर धेरै समय ‘म्युजिसियन’ भनिरहें ।
एउटा घटना सम्झन्छु, १०–१२ सालतिरकै होला । दाजु धच गोतामेले कविताको एउटा हस्तलिखित पाण्डुलिपि तयार पार्नुभएको थियो, ‘निहारिका’ नाममा । हिन्दीमा लेखिएका ती कविताले मलाई नजानेरै आकर्षित गरे । पछि दाजु बनारसमा गएर राजनीतिक आन्दोलनमा लाग्नुभयो । त्यो पाण्डुलिपि पनि कता हरायो, पत्तै भएन । अझ आमाको निधन भएपछि
(२००७) मलाई बढी संवेदनशील बनायो, जसका कारण म कवि भएँ । झन्डै आशु–कवि बनेको थिएँ ।

वीरगन्जको घरेलु माहोलबाहेक काठमाडौं केन्द्रमा कवि बनेर कसरी प्रवेश पाउनुभएको थियो ?
खासमा यसको कारण छ, अलि पछि २०१९ सालमा कवि भूपी शेरचन वीरगन्ज आएका थिए । मैले व्यक्तिगत रूपमा चिनेको होइन, तर त्यसबेलाका ‘नयाँ समाज’ जस्ता पत्रपत्रिकामा भूपीका अन्तर्वार्ताहरू छापिएका हुन्थे, उनको ‘हामी’ भन्ने कविता पनि छापिएको थियो । त्यही आधारमा मेरो राजा–चिनाइ थियो भूपीसँग । भूपीको व्यक्तित्व, बोलीचाली र शैलीका कारण फ्यान–फलोवर (र, थुप्रै युवती फ्यानहरूसमेत) उनलाई भेट्न अपहत्ते गर्नेमा हुन्थे । उसबेला वीरगन्जमा एउटै मात्र होटल थियो, अलिक सुविधायुक्त—हिमालय होटल । हो, म पनि त्यही होटलमा गएको थिएँ, भूपी भेट्न । र, आफ्नो कवि चेतना देखाउँदै केही कविता सुनाएको थिएँ । त्यहीबेला भूपीले ‘कविता राम्रा रहेछन्, छाप्नुस् न’ भनेपछि मौका पाएझैं मैले नि भनेको थिएँ— खोइ, छापिदिँदैनन् । कविता छाप्न पनि सोर्स चाहिन्छ भन्छन् ।
‘होइन, त्यसो होइन । रूपरेखा पत्रिकाले कविता विशेषांक निकाल्दै छ । म चिठी लेखिदिन्छु नि’, भूपीको आश्वासन थियो । नभन्दै ‘रूपरेखा’ का सम्पादक उत्तम कुँवरलाई सम्बोधन गरेर भूपीले चिठी पनि लेखिदिए । त्यो पत्र लिएर म काठमाडौं गएँ, अनि रूपरेखामा मेरो जीवनकै पहिलो कविता छापियो— ‘तटस्थता : असफलता’ शीर्षकमा । (संयोग के भने मैले रूपरेखामा पठाउन चाहेको कविताको शीर्षक ‘नयाँ वर्ष’ थियो । तर, भूपी आफैंले ‘मैले नि यही शीर्षकमा रूपरेखालाई कविता दिँदै छु, तपार्इं अरू नै पठाउनोस् है’ भनेपछि मैले अलग कविता पठाएको थिएँ । पछि रूपरेखामै ‘रानीपोखरीको किनारमा’ शीर्षक कविता पनि छापिएको थियो, जुन मेरो भर्खरै प्रकाशित संग्रहमा छ ।)

यस अर्थमा, उसबेला कवि बन्नै पनि सोर्सफोर्स लाग्ने रहेछ ?
हो नै । त्यसअघि (२०१८ सालतिर) पनि म ‘रूपरेखा’ गएको थिएँ । त्यहाँ बादेपा (बालमुकुन्ददेव पाण्डे) भेटिनुभयो । उहाँले ‘ठीकै छ, कविता यहीं छाडे हुन्छ । हामीकहाँ ‘फक्रँदो कोपिला’ स्तम्भ छ, त्यसमा छापिनेछ’ भन्नुभएको थियो । मैले आफ्नो वीरगन्जमा कत्रो क्रेज रहेको, नाम–मान रहिसकेको र धेरैले गायक/कवि भनेर चिन्न थालिसकेकाले कोपिला बन्न नचाहेको दम्भ राखेरै कविता नदिई फर्केको थिएँ । अझ २०१६ सालमा हेटौंडामा एउटा कविता प्रतियोगितामा प्रथम भएको थिएँ । त्यसपछि मैले लेखेको नाटक ‘पिकनिक’ (२०१८) को मञ्चनले वीरगन्जमा ठूलै हंगामा मच्चाएको थियो । अब यत्रो नाम–काम भएको कवि ‘फक्रँदो कोपिला’ स्तम्भमा आउने ? मनले मानेन । त्यहीकारण पछि कवि भूपीले पत्र लेखिदिएको सोर्सले काम गर्‍यो ।
(यसरी कोपिलाकै रूपमा त हामीले २०१३/१४ सालमा वीरगन्जको कुमालटोलमा खोलेको जुनेली पुस्तकालयमै हस्तलिखित ‘जुनेली’ पत्रिकामा कविताहरू छापिएकै थिए, यसरी मेरो कोपिला–कविको इतिहास हुँदै नभएको पनि होइन । तीमध्ये एक कविताको अंश म सम्झन्छु— शुभ्र हिमालयको काखामा, बसेको हाम्रो देश नेपाल/यसको एकएक चप्पामा रिपुहरूको बस्दछ काल...) ।

वीरगन्जमा ‘रूपरेखा’ को नाम–काम कसरी थाहा हुन्थ्यो ? के त्यो पत्रिका काठमाडौंबाट त्यहाँ जान्थ्यो ?
म काठमाडौं २०११ सालदेखि नै आइजाइ गरेको हुँ । धच दाजुको संगत, साहित्यिक सर्कल र पत्रपत्रिकाको अन्दाज त थोरबहुत थियो नै । नयाँ सडक, फसिकेवको एउटा घरमा ‘रूपरेखा’ सुरुमा खुलेको हो, २०१७ सालतिर निजी तहमा खुलेको राष्ट्रिय पुस्तकालयले सुरुमा ‘रूपरेखा’ छापेको थियो । ‘रूपरेखा’ जस्ता पत्रिका त वीरगन्जमा पुग्दैनथे । तर, ‘नयाँ समाज’, ‘समाज’, ‘समीक्षा’ जस्ता पत्रपत्रिका जान्थे, जहाँ कवि, साहित्यकारबारे समाचार वा अन्तर्वार्ता छापिन्थे । भूपीको अन्तर्वार्ता पनि ‘नयाँ समाज’ मै पढेको थिएँ । त्यो अल्लारे उमेरमा यस्ता खुराक निकै आत्मसात् गरिहाल्थ्यौं । ‘ओहो, अन्तर्वार्ता दिने लायकको कवि’ भनेसि सक्किहाल्यो । भूपी धेरै नपढे पनि उनको अन्तर्वार्ता त पढिएकै थियो । अन्तर्वार्तामा भूपीले ‘तपाईंलाई मन पर्ने कवि को हो ?’ भन्ने प्रश्नमा मोहन कोइराला, कृष्णभक्त श्रेष्ठहरूको नाम लिएका थिए । यसरी कोइराला, श्रेष्ठ पनि मन पर्न थाले, तिनको कवितै नपढीकन । लाग्थ्यो— भूपी निकै ठूला कवि हुन्, अब उनले प्रशंसा गरेका कवि झनै ठूला भइहाले । बरु मोहन कोइरालाको भने २०१४ सालमा निस्केको ‘इन्द्रेणी’ पत्रिकामा नाम पढेको थिएँ । देवकोटाको ‘पागल’, कोइरालाको ‘उषाः रक्सीको एक झोल’ जस्ता कविता त्यहाँ छापिएका थिए । हामीलाई जो छापिएको छ, त्यही ठूलो मान्छे भइहाल्थ्यो— गुदी जेसुकै होस् ।

२०१६ देखि २०१९ सम्मका झन्डै ३ दर्जन कविताको संग्रह तयार पारेपछि (२०२० पछि) किन तपाईंको कवि–रूप कतै विलीन भयो ?
हो, २०२१ सालमा किताब छापिएला कि भनेर कविताको पाण्डुलिपि मदन पुरस्कार पुस्तकालयमा बुझाइसकेको थिएँ, तर कुनै संकेत आएन । त्यहीबेला म उपन्यास लेखनतिर लागिसकेको थिएँ । ‘बालुवामाथि’ उपन्यास लेख्ने क्रममै थिएँ । आज यो रहस्य भनिदिऊँ, मैले लगातार समय दिएर र एकलतमा काम सकेको भए यही ‘बालुवामाथि’
पहिलो प्रकाशित उपन्यास हुने थियो तर, भइदियो पहिलो ‘अन्त्यपछि’ (२०२४) ।

तपाईं वीरगन्ज छँदै कुनै कार्यक्रम लिएर वा अतिथि बनेर को–कति कवि वीरगन्ज आएका थिए ? अथवा, आउने गर्थे ?
मैंले कविशिरोमणि लेखनाथलाई वीरगन्जमै देखेको थिएँ, महाकवि देवकोटा पनि रुस भ्रमणपछि वीरगन्ज आएका थिए— २०१५ सालमा । देवकोटाको सम्मानमा कार्यक्रम राखिएको थियो, उनले धाराप्रवाह प्रवचन दिएका थिए । दौलतविक्रम बिष्टलाई वीरगन्जमै देखेको थिएँ । महानन्द सापकोटाको पनि वीरगन्जमा सम्पर्क थियो । कतिपय लेखकको त वीरगन्जतिर, मधेशतिर जग्गाजमिन रहेको र त्यो रेखदेखमा आइरहने कुरा सुनेको थिएँ ।

काठमाडौंमा छापिएका पुस्तक वा पत्रपत्रिकासमेत पुग्न मुस्किल पर्ने वीरगन्जमा हिन्दी किताब पाउन कसरी सम्भव थियो ?
हो, वीरगन्ज छँदै कैलाश बाजपेयी, सर्वेश्वर दयाल सक्सेना (काठकी घण्टिया), धर्मवीर भारती (मानव मूल्य और साहित्य) का पुस्तकहरू मगाएर पढेको थिएँ । पार्सलमा आउने पुस्तकका लागि ‘वीरगन्ज, नेपाल, जिल्ला चम्पाहरण, बिहार, भारत’ भन्ने ठेगाना लेखिन्थ्यो । त्यसरी मगाइएका पुस्तक रक्सौलको डाक विभागसम्म जान्थ्यो । अनि त्यहाँबाट लिएर आउनुपर्थ्यो । भनौं न, म धेरै अन्डा फोरेर निस्केको चल्ला हुँ, एउटै अन्डाबाट होइन । म लामै यात्राको
हमसफर हुँ, धेरै आरोह–अवरोह मेरासामु आए–गएका छन् ।

काठमाडौं आएपछि भने अलि बुझेर–देखेर रोजेका (रोज्जा) कवि को थिए ?
पक्कै पनि देवकोटै थिए । देवकोटाका विचारधारा, रोमान्टिकदेखि प्रगतीशिल शिल्पीसमेतको प्रभावले पनि ती कविप्रति असाध्यै सम्मान थियो । पछि संगत भएपछि र पढ्ने क्रम बढेपछि भूपी शेरचन, मोहन कोइराला, द्वारिका श्रेष्ठ, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, पारिजातको प्रभाव व्याप्त थियो, यिनको सृजनाप्रति म पनि निकै लोभिएको थिएँ ।
कवयित्रीका रूपमा भने म पारिजात (लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र) र प्रेमा शाह (आऊ मलाई सम्भोग गर) जस्ता कविता निकै रुचाउँथे, भाव र शिल्पीका आधारमा ।

त्यसबेलाका कतिपय जल्दाबल्दा कवि त पछि गएर सेलाए नि ?
हो, मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, प्रेमा शाह, वानीरा गिरिहरू निकै जल्दाबल्दा थिए । ती पछि कविका रूपमा अलिक सेलाए । पारिजातका हकमा ‘शिरीषको फूल’ उपन्यास आएपछि त कवि चिनारी र व्यक्तित्व त्यसैले ढाकिहाल्यो, पूरापूर । पुतलीसडक बस्ने कवि पारिजातसँग भेट गराउन मलाई वानीरा गिरिले लैजानुभएको थियो—भारतबाट कवि सर्वेश्वर दयाल सक्सेना आएका बखत (२०२२ सालतिर) । मलाई पनि कवि ध्रुवचन्द्रकै रूपमा चिनाइएको थियो, पुस्तक प्रकाशन वा चिनारीमा म कवि बनिनसकेको भए पनि ।

त्यो सुरुवाती दिनमा के तपाईं मोहन कोइरालाको कविता बुझ्नुहुन्थ्यो ?
अहँ, बुझ्नै मुस्किल रह्यो । आ–आफैंले अर्थ लगाउनुपर्ने हुन्थ्यो । मैले सुनेको हुँ— देवकोटा स्वयम्ले पनि मोहन कोइरालालाई ‘खोइ, तपार्इंको कविता त्यति बुझिँदैन’ भनेका थिए रे ! जबकि देवकोटाकै कविता बुझ्न सकस परिरहेको हुन्थ्यो । तर, कस्तो हो भने पश्चिमा कविहरू टीएस इलियट, एज्रा पाउन्ड, डाइलन टमस, सिल्भिया प्लाथहरू पनि झट्टै बुझिने कवि थिएनन् । सायदै त्यस्तै अमूर्तताको प्रभाव हाम्रा कविमा पनि परेको हो कि ? अमूर्तबाट पनि एउटा प्रभाव उत्पन्न हुन्छ भन्ने थियो, त्योबेला ।

कवि–कर्म र पहिचानबाट आफू तिरोहित भएपछि नेपाली कविका कविता कत्तिको पढ्नुभयो ? हिन्दी वा अंग्रेजीको प्रभाव कत्तिको रह्यो ?
वीरगन्जकै जल्दोबल्दो कवि विमल निभा धेरै पढेको छु, त्योबेलाका श्यामल, विमल कोइराला, विजय बजिमय, दिनेश अधिकारी आदि पढेको छु । पछिल्लो पुस्ताका कुरा गर्दा श्रवण मुकारुङ (बिसे नगर्चीको बयान) देखि अझपछि नवराज पराजुली (सगरमाथाको गहिराइ) सम्म पढेको छु । यत्ति भनौं, मेरा लागि सृजनाको पहिलो प्रभाव र झट्टै छोइहाल्ने विधा भनेको कवितै थियो, अझै छ । त्यसमा पनि मेरा हकमा सुरुको सृजन प्रभाव भनेको हिन्दी भाषाको थियो, हिन्दी कवि–कविता मात्रै ओढ्दै–ओछ्याउँदै हिँडेको अनुभव मसँग छ । मैथिलीशरण गुप्तोदेखि जयशंकर प्रसाद, गोपालसिंह नेपाली, रवीन्द्रनाथ, बंगिमचन्द्र, अमृता प्रितम, उमर खैयाम, महादेवी वर्मा र प्रसाद–पन्त–निराला कण्ठै हुन्थ्यो ।
पुरानो कुरा सम्झौं— ७ कक्षा पढ्दै गर्दा कले किवर भन्ने कविको ‘क्यालेरेन्डन रिडर’ पुस्तकको ‘द ब्लाइन्ड बोई’ भन्ने कविता थियो, निकै मीठो लाग्ने । त्यो पढेर म रोएको छु । मेरो चेतनामा पहिलो धक्का लागेको कविता त्यही थियो ।

अब चिनारी वा पहिचानकै कुरामा ‘ओ कविजी’ भनिएमा त उपहास गरिएजस्तो स्थिति होला नि! तपाईंलाई यस्तो लाग्दैन ?
होला, पहिलेको समयमा कविको यस्तै प्रकारको इमेज पनि थियो । कवि भन्नेबित्तिकै झुत्रेझाम्रे, गरिब–विपन्न यस्तैयस्तै । प्रायः कथा, उपन्यास, कवितामा कविको इमेज यसरी चित्रण गरिएको हुन्थ्यो— प्रतिभासम्पन्न, तर विपन्न ! कुनै उपन्यासमा धनाढ्य केटीले प्रेम गरेकी हुन्छे, तर केटो विपन्न र जहिल्यै शोकाकुल भावको कवि परिदिन्छ । यसले सब कुरा गडबड भइहाल्छ— सिनेमामा देखिनेजस्तै । तर, मेरा हकमा त कवि भूपी निकटस्थ थिए, जो काठमाडौंको पारस होटलमा महिनौं बस्थे । कवि द्वारिका वा कृष्णभक्त वा मदन रेग्मीहरू सम्पन्न थिए र,
छन्— कसले ‘हेय चिनारी’ दिने ? मोहन कोइराला, माधव घिमिरेहरू पनि राम्रै ठाँटमा हिँड्थे । देवकोटा त काठमाडौंमा त्यो बेला ‘रेले ब्रान्ड’ को साइकलमा हिँड्थे रे, रोचक घिमिरेसँग पनि रेले साइकल थियो । त्यो एउटा कविका निम्ति सानो प्रतिष्ठाको कुरा थिएन । तर, अहिले आएर त यो पहिचान फेरिएझैं लाग्छ, ‘ओ कविजी’ भन्दैमा सबै चिनारी सकिहाल्लाजस्तो लाग्दैन ।

तपाईंले आफ्नै केही गीत पनि गाउनुभएको थियो ? रेकर्डमा रहे कि ?
मैले लेखेको, संगीत भरेको र आफैं गाएको एउटा गीत थियो, जुन निकै पपुलर भयो वीरगन्जतिर । यो गीत लेखिनुमा एउटा प्रभाव थियो । सन् ६० को दशकमा आएको ‘वर्षातकी रात’ हिन्दी फिल्ममा एउटा गीत थियो— ‘जिन्दगीभर नहीं भूलेगी ये वर्षातकी रात ।’
यसैबाट निकै छोइएर गीत लेखेको थिएँ । यो गीत धेरैले आफ्ना डायरीमा सारे, बिशेषतः केटीहरूले । पोस्टकार्डमा पनि लेखेर पठाएका थिए कतिले । गीतको स्थायी थियो—
‘बिर्सन सक्छु यो संसार म आफैंलार्ई तिम्रो मीठो अनुहार बिर्सन सक्दिनँ ।’

‘ह्याङ्गरमा झुन्डिएको आकाश’ को इमेज र यसमा भरिएको कवि–कल्पना के थियो ?
सिंगो आकाशलाई एउटा नीलो कपडा भन्ठानेर र त्यही आकाशलाई ह्याङ्गरमा राखेको विम्ब कोरेको हुँ । यो संग्रहभित्र एक लामो आख्यान लुकेको छ । हो, म कविता केटाकेटी बेलादेखि नै लेख्थेँ । त्यसबखत मेरा कविता भावुक आदर्श, रुमानी बाल्यरसमिश्रित हुन्थे । ०१५ सालसम्म यस्तै चल्यो । त्यहीताका मैले रचेको ‘को ठूलो ?’ कविताले भुटनदेवी हाइस्कुल, हेटौंडाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार पाएको थियो । पुरस्कारमा पैसा थियो–थिएन, सम्झना छैन । विशुद्ध चाँदीको मेडल थियो, त्यो म सम्झन्छु जुन अहिले मसँग छैन । यसरी हराउनु मेरा लागि सामान्य कुरा हो । मैले कति वस्तु, नगद र पुस्तक हराएको छु । त्यसको हिसाब छैन । पुस्तक कतै राखेर राखेको ठाउँ बिर्सिनु त मेरो यस्तो बानी भएको छ, मलाई लाग्छ— मेरो एक चौथाइ जीवन पुस्तक खोज्नमै व्यतीत भएको छ ।