You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

अब ६५० एमजीको सिटामोल, मूल्य बढाउन स्वास्थ्यमा खेलबाड

‘क्लिनिकल ट्रायल’ नगरी बढी डोजको पारासिटामोल उत्पादन र बिक्रीवितरणको बाटो खुला
- अतुल मिश्र,राजु चौधरी

(काठमाडौं)
एक वर्षदेखि पारासिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खोल्ने भएको छ । मूल्यवृद्धि गर्न सहज बनाउने गरी सरकारी समितिले प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न दिने निर्णय गरेको छ । यसरी औषधिको डोज बढाउँदा सर्वसाधारणको स्वास्थ्यमा घातक असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
 सर्वसाधारणले आफ्नै विवेकले किन्न र प्रयोग गर्ने यो औषधिको ‘क्लिनिकल ट्रायल’ बिनै डोज बढाउन लागिएको हो । स्वास्थ्य सचिव रोशन पोखरेलको अध्यक्षतामा बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोललाई स्वीकृति दिन औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको थियो । यसरी मुनाफाका लागि डोज बढाइएको सिटामोलले कलेजो र मिर्गौलामा हुन सक्ने असरमा अत्यधिक वृद्धि हुन सक्ने विज्ञहरूको चिन्ता छ । हालसम्म ५०० एमजीभन्दा बढी मात्राको पारासिटामोल उत्पादन गर्न पाइँदैन ।
विभागका सूचना अधिकारी सन्तोष केसीले विज्ञ सल्लाहकारकै सुझावअनुसार ६५० एमजी पारासिटामोल उत्पादनलाई स्वीकृति दिने प्रक्रिया अघि बढेको बताए । ‘निकट भविष्यमै औषधि कम्पनीले अनुमति लिएर ६५० एमजीको पारासिटामोल उत्पादन गर्न सक्छन्,’ उनले भने । विभागको यस्तो निर्णयले औषधि उद्योगीको पक्षपोषण गर्ने तर जनस्वास्थ्यका हिसाबले प्रतिकूल हुने विज्ञहरूको चिन्ता छ । विश्वमा भारतबाहेक निकै थोरै देशमा मात्रै ६५० एमजीको पारासिटामोल पाइन्छ ।
‘क्लिनिकल ट्रायल नगरी औषधिको मात्रा वृद्घि गर्नु अनैतिक हो,’ वरिष्ठ फार्मासिस्ट एवं पोखरा विश्वविद्यालयका एसोसिएट प्रोफेसर गुलाम खानले भने, ‘हालसम्म वयस्कमा प्रायः ५०० एमजी र बालबालिकामा १२५ एमजीको सिटामोल प्रभावकारी देखिएको छ । सरकारी निर्णयले कलेजो आदि रोगमा वृद्घि हुने प्रचुर सम्भावना छ । गर्भवतीमा ६५० सुरक्षित नहुन सक्छ ।’ ५०० एमजी नै प्रभावकारी देखिएको छ भने मात्रा किन वृद्घि गर्ने भन्ने खानको प्रश्न छ । ‘वर्षौंदेखि आम नेपालीले बिनापुर्जा किन्न पाउने पारासिटामोलको मात्रा बढाएर जनस्वास्थ्यमा खेलबाड गर्न खोजिएको छ,’ उनले भने ।
वीर अस्पतालका कन्सल्टेन्ट हेपाटोलोजिस्ट डा. विकास जैसी ५०० एमजीकै पारासिटामोल उपयुक्त भइरहेका बेला डोज बढाउने निर्णय किन गरियो भन्नेमा आश्चर्यमा परेका छन् । बढी मात्राको पारासिटामोलले कलेजोमा दीर्घकालीन असर पार्न सक्ने उनको भनाइ छ । ‘कलेजोमा सिरोसिस, भाइरल हेपाटाइटिस, हेपाटाइटिस ‘बी’ र ‘सी’, फ्याटिलिभर भएकालाई २४ घण्टामा २ ग्रामभन्दा बढी पारासिटामोल सेवन गर्दा समस्या हुन सक्छ,’ उनले भने ।
हाल ८० प्रतिशतभन्दा बढी नेपालीलाई पारासिटामोलको ५०० एमजीकै चक्कीले काम गरिरहेको भन्दै नेपाल फार्मेसी संघका अध्यक्ष वरिष्ठ फार्मासिस्ट अमृत खनालले सिटामोलको भाउ बढाउन व्यापारीले सरकारबाट गलत निर्णय गराएको आरोप लगाए । मूल्य बढाउने दबाबका लागि कोभिडकालमा सिटामोलको अभाव सिर्जना गरिएको उनको आरोप छ ।
‘आफूखुसी मूल्यमा ६५० एमजीको चक्की बनाएर बेच्न महँगोमा पाउँदा कसले प्रतिचक्की १ रुपैयाँमा उत्पादन गरेर बजार पठाउँछ ?’ खनालको प्रश्न छ ।
खनालको दाबीअनुसार औषधि व्यवस्था विभागमा वरिष्ठ फार्मासिस्ट नारायण ढकाल महानिर्देशक छँदा पनि पारासिटामोलको क्षमता बढाउन दबाब आएको थियो । तर ढकालले यस्तो प्रस्ताव औषधि सल्लाहकार समितिको बैठकमा लगेनन् । हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत ढकालले सामाजिक सञ्जाल फेसबुकमा पारासिटामोलको मात्रा बढाउने निर्णय अवैज्ञानिक रहेको र यसले स्वास्थ्य समस्या ल्याउने धारणा सार्वजनिक गरेका छन् ।
नेपाल फार्मेसी परिषद्को आकलनअनुसार महामारी सुरु भएपछि वर्षमा १७ देखि १८ करोड चक्की पारासिटामोल खपत भएको थियो भने सामान्य अवस्थामा बर्सेनि १४–१५ करोड चक्की उपयोग हुने गरेको छ । कोभिड संक्रमण तीव्र भएकै बेला मूल्य बढाउन व्यवसायीले सिटामोलको चरम अभाव गराएका थिए, जसकारण महामारीको पहिलो र दोस्रो लहरमा धेरै सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।
घाटा बढेको भन्दै सरकारी कम्पनी नेपाल औषधि लिमिटेडले नै करिब १५ दिन सिटामोल उत्पादन बन्द गरेको थियो । त्यतिबेला घाटा पूर्ति गर्न भन्दै औषधि लिमिटेड बोर्डले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख मागेको थियो । बजेट निकासा नभएपछि उसले उत्पादन नै बन्द गर्‍यो । त्यसबेला पनि स्वदेशी कम्पनीले मूल्य बढाउन जोड दिएका थिए । अत्यावश्यक वस्तुका रूपमा रहेको औषधिको मूल्यवृद्धि गर्दा विरोध हुने डरले एमजी बढाउने निर्णय गरिएको स्रोत बताउँछ ।
‘औषधि उत्पादकको स्वार्थमा सरकार परिदियो । व्यापारीको प्रभावमा एमजी बढाउने निर्णय भएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यसमा प्रधानमन्त्री कार्यालयले नै हस्तक्षेप गर्नुपर्छ ।’ विभागका सूचना अधिकारी केसीले भने मूल्य धेरै नबढ्ने दाबी गरे ।
सल्लाहकार समितिको निर्णयले अन्ततः औषधिको मूल्य बढ्ने र त्यसको असर उपभोक्तामा पर्नेछ । ‘सिटामोलको मूल्य बढाउनकै लागि सिलिङलाई छल्दै एमजी नै बढाउने चलखेल भएको छ,’ औषधि व्यवस्था विभागका एक अधिकारीले भने, ‘जनतालाई झुक्याएर मूल्य बढाउने चलखेल गरियो ।’ सिटामोल उत्पादनको जिम्मेवारी पाएको नेपाल औषधि लिमिटेडका अनुसार अहिले प्रतिट्याब्लेट मूल्य एक रुपैयाँ पर्छ । सिलिङअनुसार एक पत्ताको १० रुपैयाँ पर्छ । त्यसभन्दा बढी मूल्य लिन पाइँदैन । ‘उद्योगीको दबाब र चलखेलमा स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले मूल्य बढाउन खोजेका हुन्,’ ती अधिकारीले भने । सिटामोलको उत्पादन र बिक्रीबाट सरकारलाई केही मात्रामा घाटा भए पनि त्यसको विकल्प वैज्ञानिक मूल्य समायोजन हो ।
सिटामोलको एमजी बढाउन ३ वटा स्वदेशी औषधि उत्पादकले आवेदन दिएका थिए । तर, २०७८ असार ११ मा औषधि मूल्यांकन समितिले विभागीय निर्णयबाट त्यसलाई अस्वीकृत गरेको थियो । तत्काल ६५० एमजीको सिटामोल आवश्यक नभएको भन्दै एमजी नबढाउने निर्णय गरिए पनि पछि नेपाल औषधि उत्पादक संघ नै एमजी बढाउने ‘लबिइङ’ मा लाग्यो । संघले माग गरेपछि औषधि सल्लाहकार समितिले संघलाई सिटामोलका विषयमा राय मागेको थियो । संघले ६५० एमजीको सिटामोल सुरक्षित र प्रभावकारी रहेको राय दिएको थियो । यसैका आधारमा समितिले सिटामोलको एमजी बढाउने निर्णय गरेको स्रोतको भनाइ छ ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पनि परीक्षणबिनै बढी मात्राको पारासिटामोल उत्पादन गर्ने सरकारको निर्णय अनुचित भएको बताए । ‘यो नीतिगत भ्रष्टाचारको अर्को नमुना हो । औषधि व्यवस्था विभाग व्यापारीको चंगुलमा फस्यो, अरूलाई आयात गर्न नदिने र आफूले जतिमा बेच्नु भन्यो त्यतिमै बेच्नुपर्ने भयो,’ उनले भने, ‘सरकारको यो निर्णयले भविष्यमा मिर्गौला, कलेजोका नयाँ अस्पताल बन्ने भए ।’

मुख्य पृष्ठ

कीर्तिमानले भरिएको शतक

- विनोद पाण्डे
नेपालका रोहित पौडेल शतकीय इनिङ्सका क्रममा रन बटुल्दै ।  हेमन्त श्रेष्ठ

(काठमाडौं)
रोहित पौडेलले अर्धशतक पूरा गर्दा जसरी खुसी मनाए, उनमा त्यो खुसी शतक पार गर्दा देखिएन । किनकि पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई जित दिलाएपछि मात्र पूर्ण खुसी मनाउने दाउमा थिए उनी । तर पनि यो खेलमा रोहितले कीर्तिमानले भरिएको इतिहास रचे ।
एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउनु नेपाल ब्याट्सम्यानका लागि चानचुने सफलता होइन । रोहित एक दिवसीयमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बने । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता पूर्वकप्तान पारस खड्काले मात्र नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । जतिबेला नेपालले २५५ रनको लक्ष्य पछ्याइरहँदा पारसले यूएईविरुद्ध दुबईमा शतकीय इनिङ्स खेलेका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार नेपालले टस जितेपछि ब्याटिङका लागि निम्त्याएको पीएनजीले अप्रत्याशित रूपमा २९२–८ को स्कोर बनाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको यो सबैभन्दा ठूलो रन थियो । यही चुनौती नै रोहितलाई अवसर बनेर आयो । उनले नेपालका लागि धेरै कीर्तिमान आफ्नो नाममा लेखाए ।
रोहितले १ सय ७ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरी १ सय २६ रन बनाए । उनले यसअघि पारसले बनाएको कीर्तिमान १ सय १५ रनको स्कोरलाई मात्र उछिनेनन्, नेपालबाट सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत उच्च स्कोरको कीर्तिमान बनाए । कनिष्क चौगाईंले २००३ मा पाकिस्तानको कराँचीमा एसीसी यू–१९ कपमा माल्दिभ्सविरुद्ध १ सय २५ रन बनाएका थिए ।
आफ्नो इनिङ्सका क्रममा रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा ५ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बने । उनी नेपालका अर्का पूर्वकप्तान ज्ञानेन्द्र मल्ल (४८० रन) लाई उछिन्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।
नेपाल लगातार जित्दै आएको प्रतिद्वन्द्वी पीएनजीविरुद्ध ६ रनले पराजित भएर निराश देखिए पनि प्रशिक्षक पुबुदु दासानायके रोहितको इनिङ्सबाट प्रभावित थिए । ‘रोहितले ठूलो शतक बनाउनुका साथै शतकीय साझेदारी गरेका छन्, नेपालले हारे पनि यसबाट धेरै सकारात्मक पक्ष लिन सकिन्छ,’ दासानायकले भने ।
गत वर्ष सेप्टेम्बरमा ओमानमा पीएनजीविरुद्ध नै ८६ रन बनाउनु रोहितको यसअघिको उच्च स्कोर थियो । शतकका बाबजुद नेपाललाई जित दिलाउन नसकेकामा रोहित खिन्न थिए । ‘जितेको भए धेरै राम्रो हुन्थ्यो, २–३ पटक जित नजिक पुगेर यस्तो भइसकेको छ । त्यही भएर शतक बनाए पनि अलिकति मज्जा आएन,’ रोहितले भने, ‘लक्ष्यमा पुगेपछि मज्जैले खुसी मनाउँला भन्ने थियो । ग्यापमा हान्न प्रयास गर्दा आउट भएँ । यूएई भ्रमणमै शतक हान्नुपर्छ भनेर प्रशिक्षकले भन्नुभएको थियो ।’

मुख्य पृष्ठ

चीनसँग दर्जन समझदारीको तयारी

बीआरआईमा नेपालको अरुचि, रेलमा चासो
- जगदीश्वर पाण्डे
नमस्कार: अन्तर्राष्ट्रिय विमानस्थलमा नमस्कार आदानप्रदान गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी र राजदूत होउ यान्छी । साथमा परराष्ट्र सचिव भरतराज पौड्याललगायत ।  रासस

(काठमाडौं)
चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा दुई देशबीच करिब एक दर्जन विषयहरूमा सम्झौता हुने भएको छ । शुक्रबार काठमाडौं आएका वाङ र समकक्षी मन्त्री नारायण खड्काबीच शनिबार सिंहदरबारमा वार्ता हुँदै छ ।
चिनियाँ विदेशमन्त्री वाङलाई लिन परराष्ट्र सचिव भरतराज पौड्याल शुक्रबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । वाङ र परराष्ट्रमन्त्री खड्काबीच शनिबार हुने वार्तामा नयाँ विषयभन्दा पनि पुरानै विषय कार्यान्वयन प्राथमिकतामा पर्ने नेपाली अधिकारीले बताएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० देखि १२ विषयमा सहकार्य गर्ने गरी टुंगो लागेको हो । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भने तत्काल अघि नबढ्ने भएको छ । बीआरआईमा अनुदानको अपेक्षा गरेको नेपालले ऋण लिने गरी परियोजनाहरू तत्काल अघि नबढाउने सन्देश पनि दिएको छ ।
परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासले बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयलाई अन्तिम रूप दिए पनि नेपालतर्फको उच्च तहबाट ‘संकेत’ नआउँदा सम्झौता नहुने भएको हो । नेपालतर्फको राजनीतिक नेतृत्व ऋण लिन सकारात्मक नभएको परराष्ट्रका एक अधिकारीले बताए । तर, चीनले बर्सेनि दिने अनुदान भने थप्ने गरी समझदारी हुँदै छ ।
अहिले वर्षमा १३ अर्ब अनुदान आउने गरेकामा अब यो रकम १५ अर्बमा पुर्‍याउन चीन सकारात्मक भएको छ । राष्ट्रपति सी चिनपिङको भ्रमणको दौरान नेपाललाई दिने भनिएको ५६ अर्ब रकमको उपयोग गर्ने सम्बन्धमा पनि छलफल हुँदै छ ।
केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन (टेक्निकल स्किम अफ ट्रान्स हिमालयन रेल्वे) सम्बन्धमा पनि सम्झौता गर्ने तयारी छ । नेपाल र चीनबीच हुन सक्ने सम्झौताको सूचीमा कोरला नाका सुसञ्चालन, हुम्लाको हिल्सामा सुक्खा बन्दरगाह निर्माण, रातमाटे–रसुवागढी–केरुङ ट्रान्समिसन लाइन निर्माण पनि छन् ।
चीनको ऋण तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थलको संरचना पनि नेपाललाई हस्तान्तरण गर्ने तयारी छ । त्यस्तै भक्तपुरको दुवाकोटमा वीर अस्पतालको नयाँ भवन बनाएर सेवाको स्तरोन्नति गर्न तथा चितवनको भरतपुर अस्पतालमा मेडिकल र प्राविधिक सहयोग गर्न पनि चीनको सहयोग ल्याउने तयारी छ । वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्ने सरकारी योजना अहिलेसम्म अघि बढ्न सकेको छैन । यसमा चीन सरकारले मद्दत गर्ने गरि गृहकार्य भएको हो । नेपालबाट ‘हेलेज’ प्रजातिको घाँस चीन निर्यात गर्ने विषयमा पनि समझादारी गर्ने दुवै पक्षको तयारी छ ।
मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयलाई अघि बढाउने विषय पनि एजेन्डामा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार यो आयोजना प्राथमिकतामा राखिएको छ । सन् २०१९ मा सीले नेपाल भ्रमण गर्दा नै उक्त विश्वविद्यालयलाई चीनले सहयोग गर्ने भनिएको थियो । जसअनुसार केपी ओली नेतृत्वको तत्कालीन सरकारले मकवानपुरको चित्लाङमा जग्गा तयारी गरेको थियो । तर चिनियाँहरूले आफ्नो सहयोगमा बन्ने विश्वविद्यालय काठमाडौंबाट धेरै टाढा भएको र त्यहाँ सहजै आउन र जान गाह्रो हुने गुनासो गरेपछि काभ्रेतिर सारिएको हो । विश्वविद्यालयका लागि काभ्रेमा जग्गा प्राप्ति गर्न ओली सरकारले नै १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको थियो । पाँचखाल र नमोबुद्ध नगरपालिकाको केही वडामा १० हजार ३ सय रोपनी जग्गा तयार छ ।
भूकम्प र महामारीसँग उत्तरी नाका बन्दप्रायः छन् । रसुवागढी–केरुङ, तातोपानी नाका खुकुलो बनाउने मात्र होइन, मुस्ताङको कोरला नाका पनि सञ्चालन गराउने विषयलाई नेपालले प्राथमिकतामा राखेको छ । यो विषयमा पनि समझदारी हुने अधिकारीहरूको भनाइ छ ।
दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारत हुँदै शुक्रबार अपराह्न नेपाल उत्रिएका वाङले लगत्तै चिनियाँ राजदूतावासद्वारा आयोजित कार्यक्रममा भाग लिए । उनले दूतावासको अधिकारीहरूबाट ‘ब्रिफिङ’ लिएका थिए । उनी शनिबार बिहान शिवपुरीमा हाइकिङ जाँदै छन् । शनिबार दिउँसो मन्त्रीद्वय खड्का र वाङबीच सिंहदरबारमा द्विपक्षीय वार्ता र सहमति भएका विषयमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि वाङ प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् र पोखरा विमानस्थललाई हस्तान्तरण गर्नेछन् ।
 वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । लगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ ।

के–के सम्झौता हुँदै ?
   - टेक्निकल स्किम अफ ट्रान्स हिमालयन रेल्वे (केरूङ–काठमाडौंको सम्भाव्यता अध्ययन)
   - आर्थिक सहकार्य (चीनले वार्षिक रुपमा दिँदै आएको १३ अर्बको आर्थिक सहायतालाई १५ अर्बमा पुर्‍याउने)
   - राष्ट्रपति चिनपिङको भ्रमणको दौरान नेपाललाई दिने भनिएको ५६ अर्ब रकमको उपयोग
   - कोरला नाकाको सुसञ्चालन र सहकार्य
   - हुम्लाको हिल्सामा सुक्खा बन्दरगाह निर्माण
   - रातमाटे–रसुवागढी–केरूङ ट्रान्समिसन लाइन निर्माण
   - हेलेज घाँस चीन निर्यात ।
   - पोखरा विमानस्थल चीनद्वारा नेपाललाई हस्तान्तरण ।
   - भक्तपुरको दुवाकोटमा वीर अस्पतालको भवनसहित स्तरोन्नति ।
   - चितवनको भरतपुर अस्पतालको मेडिकल र प्राविधिक सहयोग ।
   - राष्ट्रपति सी चिनपिङको भ्रमणमा नेपाललाई दिने भनिएको ५६ अर्ब रकमको उपयोग गर्ने सम्बन्धमा ।
   - मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयलाई अघि बढाउने सम्बन्धमा ।

Page 2
समाचार

कर्णालीमा घटेन गरिबी

मुख्यमन्त्री शाही भन्छन्– ‘हामी ५० हजारमा एक केजी जडीबुटी बेचेर ५ लाखको सामान खरिद गरिरहेका छौं’
- कृष्णप्रसाद गौतम,तुलाराम पाण्डे

(सुर्खेत) र (कालीकोट)
पाखोबारीको उब्जनीले एक महिनाभन्दा बढी धान्दैन । त्यसैले खाडाचक्र–४ हिरेचौरका ४५ वर्षीय सर्जन कामीको ६ जनाको परिवारमा धेरैजसो बेलुकी चुलो बल्दैन । ‘बिहान त जेनतेन खानैपर्छ,’ उनकी पत्नी ३७ वर्षीया दन्ताले भनिन्, ‘बेलुकी कहिले खान्छौं, कहिले भोकै सुत्छौं ।’ ३ छोरी र १ छोरासहितका सर्जन दम्पतीले दैनिक मजदुरी गर्दै आइरहेका छन् । मजदुरीमा नगएको दिन उनीहरू भोकै सुत्छन् । १३ वर्षको उमेरदेखि ज्याला मजदुरी गर्दै आएका सर्जन काम खोज्दै २३ पटक भारत गइसकेका छन् ।
कोरोना महामारीका कारण घर फर्किएका उनले अहिले गाउँमै मजदुरी गरिरहेको बताए । उनले यो वर्ष घर दरिलो बनाउने सोचेका थिए, पैसा भएन । दम्पतीले दैनिक ज्यालाबाट पेट काटेर जोगाएको पैसाले घरको जग उठाए पनि त्यसमाथि बनाउन नसकेको उनले गुनासो गरे । ‘हातसीप नहुन्यालाई बाँच्न मुस्किल छ,’ सर्जनले भने, ‘सीप भए यथै (कालीकोटमै) काम पाइन्थ्यो, पलदारी गर्न (भारी बोक्न) भारत जान्छु ।’ सम्पत्तिका नाममा उनीहरूसँग खरले छाएको पुरानो घरसहित एउटा स्थानीय जातको गाई, लुगाफाटो र भाँडाकुँडा मात्र छन् । उनीहरूको बसाइ रहेको डाँडामा पानी छैन । वर्षमा एक बाली मात्र पाक्ने एक रोपनी जग्गा पनि लामो समयदेखि बाँझै छ ।
खुट्टाको अपांगता भएका उनका छिमेकी जुल्फे परियारले पनि मागेरै परिवार पालिरहेका छन् । ‘मेरा बाबाले पनि मागेरै मलाई पाल्नुभयो,’ उनले भने, ‘मैले पनि त्यसै गर्नुपरेको छ ।’ उनका बाबु गाउँगाउँमा गीत गाएर मागेर गुजारा गर्ने क्रममा ७ वर्षअघि बितेका हुन् । उनका तीन दाजुभाइमध्ये अरूले भने ज्याला मजदुरी र सिलाइकटाइको काम गरेर परिवारको गुजारा चलाएका छन् । उनले अपांगताका कारण आफूले पुर्ख्यौली पेसा अँगाल्न नसकेको बताए । उनी दैनिक गाउँ आसपासका व्यापारिक केन्द्रमा जान्छन् र मागेको पैसाले तीन जनाको परिवार पाल्छन् ।
मान्मका ६१ वर्षीय धनसिंह पाण्डेले पुर्ख्यौली सम्पत्तिमा ७ रोपनी खेतबारी पाएका थिए । सदरमुकाम बसाइँ आए, खाने मेलो नभएपछि जग्गा बेच्दै सबै सके । सबै सकिएपछि केही वर्ष मान्म बजारको फोहोर उठाएर परिवार पाल्ने काम गरिरहेका थिए । नगरपालिकाले ट्याक्टरमार्फर्त फोहोर उठाउन थालेपछि उनी अब भने बेरोजगार भएका छन् । उनी पनि बजारमा आएकाहरूसँग मागेरै ५ जनाको परिवार पाल्न बाध्य भएका छन् ।
शिक्षा, स्वास्थ्य, चेतनाका दृष्टिले नागरिक सशक्त हुँदै गएको देखिए पनि बहुआयामिक गरिबीका सूचकले कालीकोट अझै पछाडि छ । आर्थिक सर्वेक्षण–२०७५ अनुसार नेपालको बहुआयामिक दर २८.६ रहेकोमा कालीकोटको दोब्बरभन्दा बढी ५८.७ छ । कालीकोट मानव विकास सूचकांकमा ७६ औं जिल्ला बाजुराभन्दा १ स्थान माथि छ । नेपालमै दलित समुदायको बसोबास बढी भएको जिल्ला कालीकोट हो । यहाँका अधिकांश दलित समुदायमा चेतना, शिक्षा र प्रतिव्यक्ति आय कम हुँदा गरिबी घट्न नसकेको अधिकारकर्मी बाले विश्वकर्माले बताए । ‘अन्य जातजातिकाहरू उद्यमतिर उन्मुख छन्,’ उनले भने, ‘दलित समुदायले भने अझै छाकका लागि संघर्ष गर्नुपरेको छ ।’ सीप भएका अधिकांशले भारतमा गएर मजदुरी गर्ने गरेको उनले बताए ।
चार वर्षअघि ७३ औं स्थानमा रहे पनि पछिल्लो तथ्यांकअनुसार कालीकोटको स्तर झन् खस्किएको हो । औसत आयु, साक्षरता दर, प्रतिव्यक्ति आम्दानीलगायत सूचकका आधारमा निर्धारण हुने सूचकांकअनुसार पुछारमा हुँदा पनि स्थानीय तहले विपन्नको जीवनमा खासै परिवर्तन ल्याउन सकेका छैनन् । विपन्न नागरिकका लागि सीप विकास, आयआर्जनलगायत कार्यक्रम ल्याइए पनि प्रभावकारी हुन नसकेको खाडाचक्र नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए ।
साविकको कर्णालीका ५ जिल्लामध्ये सबैभन्दा बढी १ लाख ४५ हजार जनसंख्या रहेको कालीकोटमा २०७४ यता मात्र झन्डै २० अर्ब बजेट आएको कोष तथा लेखा नियन्त्रण कार्यालयको अनुमान छ । ‘बजेट आउने पनि एउटै बाटो छैन,’ कार्यालयका एक अधिकारीले भने, ‘विभिन्न ठाउँबाट छिराएर मनमौजी गर्ने प्रवृत्तिले यहाँको गरिबी घट्न सकेन ।’ कालीकोटमा आएको बजेटको दुरुपयोग पनि बढिरहेको उनले बताए । स्थानीय तहमा भएको बजेट दुरुपयोग बढेपछि सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्र एक सयवटा उजुरी परेका छन् ।
जिल्लामा आएको बजेटबाट ठूलै उपलब्धि नदेखिए पनि कर्णाली सडक सञ्जालसँग जोडिनु, शैक्षिक संस्था वृद्धि हुनु, भौतिक पूर्वाधारमा सुधार आउनु, जनचेतनामा वृद्धि हुनुलगायत सकारात्मक पक्ष रहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘भ्रष्टाचार हाबी हुनु, जनप्रतिनिधिले आसेपासे र दलका कार्यकर्ता केन्द्रित बजेट बनाउनु, विकास गर्ने नभई खाने प्रवृत्ति हाबी हुनु, सकारात्मक सोचको कमी रहनुजस्ता समस्या भने हटेनन्,’ उनले भने ।
विश्व बैंकको सहयोगमा गरिबी निवारण कोषमार्फत हालसम्म ३५ करोड रुपैयाँ कालीकोटमा खर्चिएको भए पनि समुदायको जीवनस्तरमा सुधार आउन सकेको छैन । हाल उक्त कोष नै खारेज भइसकेको छ । रकम समुदायमा भए पनि टाठाबाठाले फिर्ता नगरेको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए । ‘एकीकृत विकासद्वारा गरिबी निवारण कार्यक्रमको नाम आकर्षक दिइयो,’ उनले भने, ‘तर समुदायस्तरमा गरिने खुद्रा व्यापार, बाख्रा, कुखुरा, भैंसीपालनलगायत व्यवसायले गरिब किसानको उन्नति हुन सकेन ।’
आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालको बहुआयामिक गरिबी २८.६ रहेकोमा कर्णालीको दर ५१.२ छ । मानव विकास सबै सूचकहरूमा कर्णाली कमजोर देखिन्छ । सर्वेक्षणअनुसार नेपालको अपेक्षित आयु साढे ६९ रहेकोमा कर्णालीको ६७ वर्ष छ । युवा साक्षरता दर ८२ प्रतिशत छ । त्यस्तै नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको दर १८.७ रहेकोमा कर्णालीमा २८.९ छ भने कर्णालीमा आर्थिक रूपले अति पछाडि परेका जनसंख्या ४४.२ प्रतिशत छ ।
आयोगका अनुसार कर्णालीमा सबैभन्दा कम गरिबीको दर रुकुममा २६.६ छ भने सबैभन्दा बढी कालीकोटमा ५८.७ छ । त्यस्तै दैलेखमा ३५.४३, डोल्पामा ३९.४२, हुम्लामा ५६.२७, जाजरकोटमा ३७.८७ र जुम्लामा ३९.८२ छ । यसैगरी मुगुमा ४५.९४, सल्यानमा २९.४४ र सुर्खेतमा ३०.५ रहेको प्रदेश योजना आयोगले जनाएको छ । आयोगका अनुसार मानव गरिबीका दृष्टिले नेपालको सबैभन्दा गरिब ५ मध्ये ३ जिल्ला कालीकोट, मुगु र हुम्ला कर्णालीमा पर्छन् ।
कर्णालीमा स्थानीय तहअनुसार सबैभन्दा बढी गरिबी हुम्लाको अदानचुली गाउँपालिका (७२.८६) र सबैभन्दा कम सुर्खेतको वीरेन्द्रनगर नगरपालिका (१३.८३) मा छ । कछुवा गतिको विकास, विकास महँगो हुनु, प्रशासनिक शिथिलता, निराश जनमानस, प्रभावकारी अनुगमन संयन्त्रलगायत कारण कर्णालीको गरिबी घट्न नसकेको समाजशास्त्री नरेन्द्र ओलीले बताए । ‘कर्णालीका अधिकांश पूर्वाधार निर्माणको काम गुरुयोजनाबिनै गरिएको छ,’ उनले भने, ‘कृषि उत्पादन, रैथाने बाली संरक्षण र विकास, जडीबुटी संकलन, प्रशोधन तथा त्यसको बजारीकरणको अभावले आर्थिक गतिविधि ज्यादै सुस्त छ ।’ सडक नै विकासको आधार भए पनि कर्णालीका सबै सडक स्तरीय, सस्तो र सुलभ नहुँदा कर्णाली अविकसित रहेको उनले बताए । कर्णालीमा सम्भावित विपद् र जोखिमलाई ध्यानमा राखेर रणनीतिक सडक बनाउन जरुरी रहेको उनले औंल्याए ।
कर्णालीमा ग्रामीण विद्युतीकरण, साना सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, भवन, तटबन्ध, रैथाने कृषि बालीको विकासजस्ता परियोजनाले तत्कालीन आवश्यकता पूरा गर्ने भए पनि रोजगारी सिर्जना नगर्ने मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमलराज लम्सालले बताए । ‘ठूला राजमार्ग, जलविद्युत् परियोजना, पर्यटनको विकास र ठूला मात्रामा कृषि र जडीबुटी उत्पादनले मात्र कर्णालीमा रोजगारीका अवसर सिर्जना गर्न सक्छन्,’ उनले भने, ‘अहिलेसम्म कर्णालीको विकास तत्कालीन आवश्यकता पूर्ति गर्नेमा केन्द्रित छ । जसलाई दीर्घकालीन आर्थिक विकास र रोजगारी सुरक्षासँग जोड्नुपर्छ ।’ बजारबाट पृथक् रहेर कर्णालीको विकास सम्भव नभएको उनले बताए । बालीको उत्पादकत्व बढाउनु र जलवायु परिवर्तनको प्रभाव मूल्यांकन गरी त्यसको प्रतिकूल नहुने गरी कृषि विकास गर्नुपर्ने उनको भनाइ छ । ‘खाद्यान्न भनेको नै भात हो भन्ने मानसिकता पनि परिवर्तन गर्न जरुरी छ,’ उनले भने ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्ष मात्र कर्णालीमा खाद्यान्न ढुवानी गर्न झन्डै ७० करोड रुपैयाँ खर्च गरेको थियो । प्रदेश योजना आयोगका अनुसार कर्णालीमा २ लाख ९९ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि २ लाख १६ हजार हेक्टरमा खेती गरिएको छ । कर्णालीमा ३ लाख ९ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ भने १६ हजार मेट्रिक टन खाद्यान्न अपुग छ । कर्णालीमा प्रतिव्यक्ति आय ५९७ अमेरिकी डलर अनुमान गरिएको छ भने कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान ३.४ प्रतिशत मात्र छ ।
कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य दीपेन्द्र रोकायाका अनुसार बाइसे–चौबीसे शासनकालमा कर्णाली समृद्ध थियो । ‘खस राज्य स्थापना गर्ने राजा नागराज दूरदृष्टि राख्ने राजा थिए,’ उनले भने, ‘सिंजाको राज्यसत्ता भाइभाग लगाएर विभाजन भयो, त्यहींबाट कर्णाली कमजोर हुँदै गएको हो ।’ चारैतिरका व्यापारिक नाका बन्द हुनु, वस्तु विनिमयका सामानहरू सीमित हुनु, पशु व्यवसाय मासिँदै जानु, उत्पादन घट्नुलगायत कारण कर्णाली कमजोर बन्दै गएको उनको भनाइ छ ।
काठमाडौंले कर्णालीलाई आफ्नो सीमाभित्र पारेपछि जिम्मेवार बन्न नसकेको उनले बताए । ‘जसका कारण राज्यसत्तामा पहुँच स्थापित भएन, व्यापार व्यवसाय हुन पाएन र परम्परागत उत्पादनमा कमी आयो,’ उनले भने, ‘परिणामस्वरूप कर्णालीमा प्राकृतिक स्रोत भए पनि बहुआयामिक गरिबीको चक्रमा घुमिरहन पर्‍यो ।’ नेपाल जीवस्तर सर्वेक्षण–२०७२/७३ अनुसार वार्षिक ३४ हजार ७४ रुपैयाँ आम्दानी गर्न नसक्ने व्यक्तिलाई गरिब परिवार मानिएको छ । यसैमा पनि ६० प्रतिशत खाद्यवस्तुमा खर्च हुन्छ भने त्यो अति गरिब वर्ग मानिन्छ । प्रदेशभरि ३५.५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । सम्पन्नता र विपन्नताको दुवै अध्याय कर्णालीले भोगिसकेकाले दूरदृष्टि राखी योजना तर्जुमा गर्नुपर्ने रोकाया बताउँछन् । उनले लगानीमैत्री वातावरण र मानव केन्द्रित विकासले फेरि कर्णालीलाई समृद्ध बनाउन सकिने जनाए ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले ६ ‘ब’ को नीति अघि सारेर कर्णालीलाई विकासको मार्गमा डोर्‍याउन लागिएको बताए । ‘बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापन नहुँदा कर्णालीको विकासमा समस्या देखियो,’ उनले भने, ‘कर्णालीमा जम्मा १० मेगावाट बिजुली उत्पादन भएको छ, जबकि यहाँको क्षमता २१ हजार मेगावाट हो ।’ कर्णालीका वनमा अथाह बहुमूल्य जडीबुटी भएकाले त्यसको सदुपयोग गर्न सके पनि गरिबी घट्ने उनी बताउँछन् । ‘हामीले ५० हजारमा एक केजी जडीबुटी भारतलाई बेचेर ५ लाखको सामान खरिद गरिरहेका छौं,’ उनले भने, ‘बजारको समस्या हुँदा पनि कर्णाली समृद्ध बन्न सकेको छैन, हामीले बिजुली र जडीबुटी बेचेर पनि प्रशस्त आम्दानी गर्न सक्छौं ।’ उचित व्यवस्थापन अभावमा पनि कर्णालीको गरिबी कायमै रहेको उनको भनाइ छ । ‘सबै कुरा हामीसँगै हुँदाहुँदै पनि व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने । कर्णालीमा १ हजार १ सय ५२ किलोमिटर सडक रहेको आयोगको तथ्यांक छ ।
‘कृषिमा मात्रै ५ अर्बको अनुदान दिइयो, तर उपलब्धि हासिल हुन सकेन,’ उनले भने, ‘सडकमा पनि उल्लेख्य प्रगति भएन । जसका कारण जनताको अपेक्षा पूरा गर्न सकिएको छैन ।’ कर्णालीमा बढीमा ३० करोड रुपैयाँ राजस्व संकलन हुने गरेकाले संघीय सरकारको भर पर्नुपरेको उनले जानकारी दिए । ५० प्रतिशतमा रहेको गरिबीलाई प्रदेश सरकार गठनपछि ३९ प्रतिशतमा झारेको उनले दाबी गरे ।

समाचार

राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा

एक दिनमा ४० जनाले मात्रै परिचयपत्र बनाउन पालो पाउने भएकाले वैदेशिक रोजगारीमा जान चाहनेलाई सास्ती
- केदार शिवाकोटी
राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अघिल्लो रातबाटै जिल्लाप्रशासन कार्यालय दोलखा अगाडि लाम बसेका सेवाग्राही । तस्बिर: केदार/कान्तिपुर

(दोलखा)
कोरियाका लागि भाषा तथा सीप परीक्षणको आवेदन खुलेपछि राहदानी बनाउन आएकी भीमेश्वर–३ की सञ्जिता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा एक रात अनिँदै बिताउनुपर्‍यो ।
सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा अचेल राति ८ बजेबाटै युवाहरूको लाइन लाग्छ । राति ९ बजे प्रशासन कार्यालयको मूल ढोकामा लाइन बसेकी सञ्जिताले राहदानी बनाउन आवश्यक भएकाले परिचयपत्र बनाउने लाइनमा बस्नुपरेको बताइन् । ‘भोलि राष्ट्रिय परिचयपत्र बनाएपछि राहदानी बनाउने हो,’ उनले भनिन्, ‘जे काममा पनि लाइन नबसी नपाइने रैछ, बहिनीसँगै आगो तापेर रात बिताउनुपर्ला ।’
राहदानी बनाउन आएका सयौं युवा हरेक दिन जिल्ला प्रशासनको मूल ढोकामा राष्ट्रिय परिचयपत्रका लागि राति ८ बजेबाटै लाम बस्ने गरेका छन् । प्रशासनको गेटमा युवाहरू कोही खाना खाँदै गरेका देखिन्छन्, कतिले कम्बल ओढेर रात काट्ने सुरसार गरेका भेटिन्छन् । कोहीले भने आगो तापेर रात काट्ने गरेका छन् । कालिञ्चोक–३ का सविन सेन्चुरी राहदानी बनाउन आएको तीन दिन बित्यो । उनले दुई दिन–रात लाइन बसेर राष्ट्रिय परिचयपत्र बनाए । ‘विदेश जान हतारमा थिएँ, तीन दिन लाइनमै बसेर बिताएँ,’ उनले भने, ‘हामी जस्ता हतार हुने धेरै युवा लाइनमा बसेरै रात काट्न बाध्य छन्, सरकारले कहिले सहज गरिदिन्छ ।’
जिल्ला प्रशासन कार्यालयमा हरेक दिन ४० जनाको मात्रै राष्ट्रिय परिचयपत्र बन्ने गरेको छ तर लाइनमा भने सयौं युवा हुन्छन् । राहदानी बनाउन आउनेहरू तीन दिनसम्म लाम बसेर परिचयपत्र बनाउने र त्यसपछि राहदानी बनाएर फर्कने गरेका छन् । रातभरि लाइनमा बस्ने भीड बढेपछि दोलखामा सेवा केन्द्र थप गरिने भएको छ । राहदानी बनाउनेहरूले अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम भएकाले प्रशासनमा सेवाग्राहीले रातभर लाइन बस्नुपरेको हो ।
जिल्लाका जनप्रतिनिधिहरूले परिचयपत्रका लागि सेवाग्राहीले प्रशासनमै रात काट्नुपर्ने बाध्यता परेको गुनासो गरेपछि सेवा केन्द्र थप गरिने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबार गरेको जिल्लास्तरीय सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिले राष्ट्रिय परिचयपत्र सहज बनाइदिन आग्रह गरेका थिए । जिल्लामा दैनिक ४० जनाले मात्रै परिचयपत्र बनाउने व्यवस्था गरिएको छ ।
तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले राष्ट्रिय परिचयपत्र बनाउने नाममा नागरिकलाई प्रशासनको ढोकाबाहिर सुताउनुपर्ने बाध्यता रहेको बताए । ‘परिचयपत्र बनाउन पनि दुई/चार रात प्रशासनको गेटमा सुत्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रशासनले अझ आलोपालो सेवा भनेर नागरिकलाई अधिकारबाट थप वञ्चित गरेको छ । हतारमा राहदानी बनाउनेहरू थप मर्कामा परेका छन् ।’
रातभर प्रशासनमै बास बसेर राष्ट्रिय परिचयपत्र बनाउनेको भीड बढेपछि प्रशासनले स्थानीय तहका सेवाग्राहीका लागि आलोपालो सेवा थालेको छ । विदेश जान हतारमा आएकाहरूले राहदानी बनाउन आलोपालोले झनै सकस बढेको भीमेश्वर–९ का वडाध्यक्ष चित्रबहादुर भुजेलले बताए । ‘४० जनाको परिचयपत्र बनाउने कोटा छ,’ उनले भने, ‘त्यसमा पनि आलोपालो तालिका राखेर सेवाग्राहीलाई झन् सकस दिइएको छ,’ उनले भने । रातभरि राष्ट्रिय परिचयपत्रको लाइनमा बसे पनि भोलिपल्ट ४१ औं नम्बरमा परे पुनः अर्को दिन राति लाइनमा बस्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जिल्ला प्रशासन कार्यालयमा रातभरि लाइन बस्नुपर्ने बाध्यता हटाइदिन सेवा केन्द्र थप गरिदिने बताए । ‘एक साताभित्र सेवा केन्द्र थप गरिदिन्छौं,’ उनले भने, ‘४० जनाको कोटाबाट बढाएर ८० जनाले एक दिनमा सेवा पाउनेछन् ।’
राष्ट्रिय परिचयपत्रका लागि आउँदो वैशाखमा टोली खटाइने उनले बताए । विदेश जानेहरूले राहदानी बनाउँदा अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम भएको उनले बताए । ‘सरकारले तीन वर्षभित्र सबैको परिचयपत्र बनाउने अभियान थालेको हो,’ उनले भने, ‘कोही पनि नछुटुन् भन्नका लागि राहदानी बनाउँदा अनिवार्य गरेका हौं ।’ कर्मचारी व्यवस्थापन गर्न नसक्दा देशभर सेवा केन्द्र थप गर्न नसकिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले टोकन प्रणाली लागू गरेर पनि राष्ट्रिय परिचयपत्र बनाउनेका लागि सहज गरिने बताए ।

Page 3
समाचार

सात वर्षदेखि उत्तरी नाका अस्तव्यस्त

तातोपानी र रसुवागढीमा व्यवसायीका लागि अघोषित प्रतिबन्ध कायमै
आउजाउ बन्द, निर्यात ठप्प
पुराना नाका अलपत्र, नयाँ खोल्ने गृहकार्य
- ऋषिराम पौड्याल
सिन्धुपाल्चोकको भोटेकोसी–२ स्थित तातोपानी सुक्खा बन्दरगाह कार्यालयमा रोकिएका कन्टेनर । तस्बिर सौजन्यः नारद गौतम

चीनसँगको प्रमुख दुई व्यापारिक नाका तातोपानी र रसुवागढीबाट निर्यात व्यापार पूर्ण रूपमा बन्द छ । नाकाबाट आउजाउ गर्नसमेत दिइएको छैन । चीनले नेपाली व्यवसायीलाई सामान अर्डर गर्न जान अनुमति नदिएको साढे दुई वर्ष बितेको छ । नाका बन्द हुँदा सयौं व्यवसायीले पेसा नै छाडेका छन् । व्यवसायमा रहेका धेरैजसोले समुद्रको बाटो भएर तराईका नाकाबाट सामान आयात गरिरहेका छन् । चौबीसै घण्टा चहलपहल हुने तातोपानी नाका सुनसान छ ।
चीनले भूकम्प, बाढीपहिरो र कोभिडका नाममा गरेको ‘नाकाबन्दी’ सरहकै व्यवहार नेपालले भोगेको सात वर्ष बितेको छ । चीनसँगको थप नाका सञ्चालन गर्ने विषय सधैं उठ्ने गरेको छ तर सञ्चालनमा रहेका दुई पुराना नाका नै व्यवस्थित र निरन्तर सञ्चालन हुन सकेका छैनन् । २०७२ मा भारतले नेपाललाई अघोषित नाकाबन्दी गर्दा पनि तातोपानी नाका बन्दको बन्दै रह्यो । नाकाबन्दीको झोंकमा भारतलाई काउन्टर दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ मार्चमा चीनसँग पारवहन सम्झौता गरेका थिए तर त्यसका अधिकांश प्रावधान कार्यान्वयन भएका छैनन् । नयाँ नाका खुलाउने योजनाअनुसार सरकारले पूर्वाधारमा करोडौं रुपैयाँ खर्च गर्दै आएको छ तर तातोपानी र केरुङ नाकाबाट गरिने आयात व्यापारमा आंशिक र निर्यातमा लगाएको पूर्ण प्रतिबन्धलाई दुवै सरकारले सात वर्षदेखि देखेको नदेख्यै गरेको छ ।
यसबीचमा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरे । अहिले परराष्ट्रमन्त्री वाङ यी नेपालको दुईदिने भ्रमणमा शुक्रबार आएका छन् तर सात वर्षयता अघि सारिएका समस्या यथावत् छन् । नाकामा देखिएको अवरोधमात्र होइन, यसबाट सीमाको जनजीवनमा परेको असर पनि त्यत्तिकै कष्टकर छ । नाकाकै भरमा वर्षौंदेखि जीविका चलाउँदै आएकाहरू रोजगारीका लागि विदेश पलायन भएका छन् । आफूहरूलाई समस्या परेको भन्दै नेपालले चीनसँग नाका सञ्चालन सहज बनाउन पटक–पटक अनुरोध गरे पनि कार्यान्वयन हुन सकेन । चीनका लागि पूर्वराजदूत महेश मास्के हाम्रा राजनीतिक नेतृत्वको अस्पष्टता र उदासीनताका कारण विगतका सम्झौता कार्यान्वयन हुन नसकेको बताउँछन् । ‘कर्मचारीतन्त्र त्यत्तिकै निष्क्रिय छ,’ उनले भने, ‘उत्तरका दुई महत्त्वपूर्ण नाका तातोपानी र केरुङ व्यवस्थित गर्ने सन्दर्भमा पटक–पटक कुरा उठाए पनि परिस्थिति जस्ताको तस्तै छ ।’
तातोपानी र रसुवागढी नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रूपमा हेरिने गरेको छ तर चीनको व्यवहारकै कारण यी नाका सहयोगी बन्न सकेका छैनन् । पूर्वप्रधानमन्त्री ओलीको कार्यकालमा भएको व्यापार तथा पारवहन सम्झौतापछि आयात व्यापारका लागि दक्षिणको एकलौटी मनोमानी नरहने अनुमान गरिएको थियो तर व्यवहारमा कार्यान्वयन भएको छैन । पूर्वराजदूत मास्के भन्छन्, ‘पेट्रोलियम पदार्थ ल्याउन धेरै सजिलो हुने अपेक्षा गरेर पारवहन सम्झौता भए पनि कार्यान्वयन गर्न खोजिएन ।’
२०७२ मा भारतले अघोषित नाकाबन्दी गरेका बेला तातोपानी नाका लगातार चार वर्ष बन्द रह्यो । चीनले २०७६ सालमा मात्र तातोपानी सञ्चालनमा ल्यायो । कोभिडका बेला भारतबाट हुने आयात व्यापार अलि कति पनि रोकिएन तर चीनबाट हुने कारोबार कोभिडकै नाममा अहिलेसम्म सहज हुन सकेका छैनन् । नेपाल–चीन गैरआवासीय संघका पूर्वअध्यक्ष बलराम पराजुलीका अनुसार चीन जाने व्यापारी र अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई भिसा नदिएको साढे दुई वर्ष बितेको छ । उत्तरका दुवै नाकाबाट कुनै पनि नेपाली आउजाउ गर्न पाउँदैनन् । सामान आयातका लागि बर्सेनि सयौं व्यापारी चीन जाने गरेकामा अहिले उनीहरूले नेपालबाटै अर्डर गरेर व्यापार गरिरहेका छन् । अर्कातर्फ उत्तरी स्थलमार्गबाट हुने व्यापारिक कारोबार भरपर्दो र विश्वासिलो नभएपछि अहिले तातोपानी र रसुवागढी नाकाबाट हुने आयात ह्वात्तै घटेको छ । चीनले खासामा नेपालीलाई मात्र होइन, आफ्ना नागरिकलाई पनि राखेको छैन । त्यहाँका बासिन्दालाई तिब्बतको सिगात्सेमा सारिएको छ ।
उत्तरी नाकाका व्यापारीको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार उत्तरी नाकाप्रतिको विश्वास घट्दै गएपछि व्यापारीहरू तातोपानी र रसुवागढीबाट आयात गर्न हिच्किचाइरहेका छन् । विदेशमन्त्री वाङ नेपाल आउने भएपछि सीमापारले व्यापार सहजीकरण गर्न सरोकार राख्ने सबै मन्त्रालयलाई जानकारी पत्र दिएको छ । हाम्रो मुख्य माग व्यापार सहजीकरण हो,’ श्रेष्ठले भने, समस्या नेपालको होइन, चीनकै हो ।’ उनले व्यवसायीहरू बितेका सात वर्ष ज्ञापनपत्र र लिखित सुझाव दिँदादिँदै बितेको बताए ।
चौबीसै घण्टा व्यस्त हुने उत्तरी नाकाबाट आजभोलि बल्ल–बल्ल दैनिक १५–२० कन्टेनर सामान आयात हुने गरेको छ । तातोपानी नाकामा चीनले नै बनाइदिएको सुक्खा बन्दरगाह छ । तीन सय कन्टेनर अटाउने पार्किङ खाली रहेको छ । जुत्ता, तयारी पोसाक, मखमल कपडा, खेलौना, इलेक्ट्रोनिक र स्टेसनरीका सामान, कम्प्युटर पार्टस्, हार्डवेयरका सामान, कस्मेटिक सामानलगायत नेपालका उपभोक्ताले प्रयोग गर्ने लगभग सबैजसो सामान चीनबाट आउने गरेको छ । तर आजभोलि त्यस्ता सामग्री दुई महिना लगाएर समुद्रको बाटो भएर ल्याउने गरिएको छ । उत्तरी नाका भने स्याउ, लसुन, जलविद्युत् कम्पनीका मेसिन, रासायनिक मल, कोभिड नियन्त्रणमा प्रयोग हुने मेडिकल सामान ल्याउने नाकाका रूपमा सीमित हुँदै गएको छ । नेपालले २०७२ सालसम्म तातोपानी नाका भएर बर्सेनि साढे दुई अर्बको निर्यात व्यापार गर्दै आएको थियो । आयात करिब २० अर्बको भएको तथ्यांकबाट देखिन्छ । तर भूकम्पपछि निर्यातमा दुवै नाकाबाट पूर्ण रूपमा बन्देज लगाइएको छ । नेपालबाट तामाका भाँडा, जडिबुटी, मैदा, घिउ, हस्तकलाका सामान, याकलाई खुवाउने घाँस, चाउचाउ, अण्डालगायतका वस्तु निर्यात हुने गरेको थियो । निर्यातमा संलग्न व्यवसायी किशोर बस्नेतका अनुसार अहिले हात बाँधेर बस्नुपर्ने अवस्थामा छन् । ‘निर्यात कहिले खुला होला भन्नेमा छौं,’ उनले भने ।
तातोपानी नाकाका व्यवसायी नीपै अधिकारीका अनुसार उत्तरी सीमाबाट सामान आउने/नआउने अनिश्चित भएको बताउँछन् । भूकम्प र कोभिडका नाममा खरिद गरेको सामान दुई वर्षसम्म चीनको गोदाममा थन्केका कारण कतिपय व्यवसायी आर्थिक रूपमा धराशायी भएर व्यवसायबाटै पलायन भएको उनी सुनाउँछन् । नाका कति बेला के कारण खुल्छ, कति बेला के कारणले बन्द हुन्छ, बुझ्न नसकिने भनाइ व्यवसायीको छ । महँगो भाडा र लामो समय लगाएर भए पनि चिनियाँ सामान ल्याउन दक्षिणी नाका रोज्नुपर्ने बाध्यता भएको उनले बताए । नाका बन्द भएका कारण सयौं कन्टेनर व्यवसायी पलायन भए भने बैंकको ब्याज तिर्न नसकेर कन्टेनर लिलाम भएका छन् ।
सीमा क्षेत्र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल नाका बन्द भएका कारण जीविकोपार्जनमै समस्या भएको बताउँछन् । ‘सीमा क्षेत्र खासा र हाम्रो वर्षौंदेखिको सम्बन्ध टुटेको छ,’ पौडेलले भने, ‘कतिपय त गाउँ नै छाडेर कामको खोजीमा अन्यत्र लागेका छन् ।’

समाचार

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन अगाडि बढाइने

- विमल खतिवडा

(काठमाडौं)
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि सम्झौता गर्ने गृहकार्य भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच हुने द्विपक्षीय समझदारीका दौरान यो सम्झौता गर्न लागिएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौतालाई ‘टेक्निकल स्किम अफ क्लास हिमालयन रेलवे’ नाम दिइएको छ । लामो समयदेखि चर्चामा रहेको रेलमार्गको सम्भाव्यता अध्ययनमा अहिलेसम्म कुनै प्रगति नभएपछि चाँडो अध्ययन सक्ने गरी सहमति गर्न लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव केशवकुमार शर्माले रेलमार्गलाई गति दिने गरी चिनियाँ प्राविधिक टोलीलाई फिल्डमा पठाउने र विस्तृत अध्ययन गर्दै समयमै काम सक्नेबारे छलफल हुने बताए ।
‘कोभिडले गर्दा काम रोकिएको थियो,’ उनले भने, ‘अहिले कोभिडको समस्या छैन । समय तालिका बनाएर काम गर्ने गरी छलफल हुनेछ ।’ उनले जतिसक्दो चाँडो काम सक्ने गरी सहमति गर्ने तयारी रहेको बताए । अहिलेसम्म यो रेलमार्गमा खासै प्रगति छैन । गत पुसमा भर्चुअल बैठकका क्रममा कोभिडका कारण चिनियाँ प्राविधिक टोलीले उतै बसेर रेलमार्गको टेबलवर्क गर्नेबारे छलफल भएको थियो । त्यसपछि थप केही काम अघि नबढेको भौतिक मन्त्रालय स्रोतले जनायो । कोभिडलाई देखाउँदै चिनियाँ प्राविधिक टोली साइटमा अध्ययन गर्न जान सकेको छैन । अब भने परराष्ट्रमन्त्री वाङको उपस्थितिमा विस्तृत अध्ययनबारे सचिव तहमा सम्झौता हुनेछ ।
यो रेलमार्गको ०७५ मंसिरमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो । दोस्रो चरणमा विस्तृत अध्ययनको काम अघि बढाउन लागिएको हो । रेलमार्गको अध्ययनबारे २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । रेलमार्गको काम चाँडै सुरु गर्न दुवै देशका उच्च अधिकारी तयार थिए तर सहमति भएको दुई वर्ष बित्दा पनि कुनै प्रगति भएको छैन । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउनुपर्ने हुन्छ ।
परराष्ट्रमन्त्री वाङसँग चीन सरकारको ऋण सहायतामा बनिरहेका आयोजनाको निर्माण चाँडो सक्न आग्रह गरिने भएको छ । त्यस्तै चक्रपथ दोस्रो खण्ड विस्तारको डिजाइन छिटो तयार गर्न र टोखा–छहरे सुरुङमार्गको विस्तृत अध्ययन अगाडि बढाउन आग्रह गरिनेछ । चक्रपथ दोस्रो खण्डको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली गत मंसिरमा काठमाडौं आएको थियो तर टोलीले अहिलेसम्म अध्ययन रिपोर्ट दिएको छैन । अब डिजाइन नै गर्नेबारे छलफल गरिने मन्त्रालय स्रोतले जनायो ।
त्यस्तै टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन चिनियाँ टोलीले २०७६ माघमा एक महिना लगाएर गरेको थियो । त्यस्तै चीनको नाका जोड्ने गरी निर्माणाधीन स्याफ्रुबेंसी–रसुवागढी सडकको साइट छाडेर गएका निर्माण व्यवसायीलाई बोलाएर काम अघि बढाउन आग्रह गरिने भएको छ ।

Page 4
वाग्मती प्रदेश

बनेपामा कहाँबाट आउँछन् बालश्रमिक ?

बालमैत्री नगर घोषणाको लागि गरिएको अनुगमनमा जोखिम क्षेत्रमा समेत बालबालिका प्रयोग गरिएको पाइयो
- नगेन्द्र अधिकारी

(काभ्रे)
जिल्लाका अन्य स्थानीय तह, अन्य जिल्ला र भारतबाट समेत आएका बाल श्रमिक बनेपा नगरपालिकाका लागि चुनौती बनेका छन् । अन्यत्रका बालबालिका विशेषगरी यहाँका इँटाभट्टा, होटल, मोटर वर्कसपलगायतमा श्रमिकका रूपमा कार्यरत भेटिएका छन् । बालमैत्री नगर घोषणाको तयारीमा रहेको बनेपाले हालै गरेको अनुगमनका क्रममा ती क्षेत्रमा १८ वर्षभन्दा मुनिका बालबालिका कार्यरत पाइएको हो ।
‘अन्य स्थानबाट बनेपामा श्रम गर्न आएका बालबालिकाको व्यवस्थापन हाम्रो चुनौतीको विषय बनेको छ,’ नगरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विजया सुवेदीले भनिन्, ‘उनीहरूको व्यवस्थापन गर्दै बालश्रमुक्त नगर घोषणाको तयारीमा छौं ।’ बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागितासँग सम्बन्धित ५१ सूचकहरू पूरा गरेको हुनुपर्छ ।
सुवेदीका अनुसार जिल्लाको खानीखोला, महाभारत, रोसी गाउँपालिका तथा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रोल्पा, रुकुमलगायत जिल्लाबाट यहाँका इँटाभट्टा, होटल तथा रेस्टुरेन्टमा काम गर्न बालबालिका आउने गरेका छन् । मोटर ग्यारेज, वर्कसपमा काम गर्न भारतीय बालबालिका काम गरिरहेको भेटिएको छ । विशेषगरी बालबालिकालाई घरेलु कामदार, भरिया, कृषि, पशुपालन, यौन व्यवसाय, यातायात, रेस्टुरेन्ट तथा इँट्टाभट्टामा प्रयोग गरिँदै आएको अनुगमनका क्रममा पाइएको उनको भनाइ छ । यी क्षेत्रहरू बालबालिकाका लागि जोखिमपूर्णसमेत मानिन्छन् ।
नगरपालिकाले १७ क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताए । बालबालिकाको क्षेत्रमा कार्यरत सृजनशील समाज नेपालका हरिशचन्द्र घिमिरेले इँटाभट्टामा परिवारको साथमा आउने बालबालिका धेरै भए पनि बालश्रममा नै रहनेको संख्या भने यकिन नभएको बताए । बालबालिकाहरू जोखिम अवस्थामा रहेको फेला परे नगरपालिकाले जिम्मेवारीसहितको व्यवस्थापन गर्ने नगर प्रमुख लक्ष्मीनरसिं बादे बताउँछन् ।

वाग्मती प्रदेश

पानीले फर्कायो खुसी

- अनिश तिवारी

(सिन्धुपाल्चोक)
दिनहुँ पानीकै लागि घण्टौं हिँड्न बाध्य इन्द्रावती गाउँपालिका–१० भोटसिपा डाँडागाउँकी ५० वर्षीया वृन्दा मगर अहिले आँगनकै धारामा पानी आउन थालेपछि हर्षित छिन् । २०७२ वैशाखको भूकम्पका कारण डाँडागाउँमा पानी आपूर्ति ठप्प भएको थियो । ६ वर्षको अन्तरालमा धारामा पानी आएपछि उनले हौसिँदै पाइप जोडेर करेसाबारी भिजाइन् । ‘अब पहिलेजस्तो पानीकै लागि गाउँगाउँ दौडनु पर्दैन, बारीमा चाहेजस्तै बाली लगाउन सक्छु,’ उनले भनिन्, ‘वर्षौंदेखि पानीको हाहाकार झेलिरहेका स्थानीयको अनुहार अहिले उज्यालो भएको छ ।’
भूकम्पले बस्ती नै छियाछिया पारेपछि भोटसिपामा यत्रतत्र रहेका पानीका मूल सुके । जसको सोझो असर स्थानीयको दैनिकीमा परेको हो । भूकम्पपछिको पुनर्निर्माणमा क्रममा पनि पानीको जोहो गर्न निकै कठिन भएको ५१ वर्षीय अम्मरबहादुर मगरले सुनाए । ‘अहिले सबैको घरमा पानी आएपछि पर्व मनाएजस्तै खुसी छौं । बल्ल गाउँमा सरकार आएको महसुस भएको छ,’ उनले भने । खानेपानीको समस्या बेहोरिरहेका इन्द्रावती–१० का डाँडागाउँ, माथिल्लो/तल्लो गाउँ, भोटसिपाघरेलगायत गाउँमा अहिले उक्त समस्या टरेको उनको भनाइ छ ।
ज्याफ्स संस्थाको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा निर्मित बूढीचौर लिफ्ट खानेपानी योजनाबाट हजार परिवारको घरआगँनमा खानेपानी पुर्‍याइएको हो । बिहीबार ज्याफ्स संस्थाका अध्यक्ष नोरिको आचुताले खानेपानी आयोजना बूढीचौर खानेपानी उपभोक्ता समिति अध्यक्ष लीलामणि आचार्यलाई हस्तान्तरण गरेका छन् ।
गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार ४५८२ मिटरको उचाइमा झ्याडीखोलाबाट पानी तानेर गाउँमा वितरण गरिएको हो । यो योजना निर्माणमा करिब ८ करोड रुपैयाँ खर्च भएको छ । इन्द्रावतीका १२ वडाका २८ हजार स्थानीयलाई घरमै पानी पुर्‍याउन २० करोड रुपैयाँ लागतमा इन्द्रावती बृहत् खानेपानी योजनाको कामसमेत धमाधम भइरहेको छ ।

Page 5
अर्थ वाणिज्य

विनिमय सञ्चिति बढाउन ठूला भारु नोट खुलाउन माग

- हेमन्त जोशी

(काठमाडौं)
पाँच सय र दुई हजार दरका भारु नेपालमा चलाउन निजी क्षेत्रले सरकारसँग माग गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सुझाव माग्न शुक्रबार अर्थ समितिले बोलाएको बैठकमा उद्योगी व्यवसायीहरूले ठूलो दरका भारु नोटको कारोबार खुलाउनुपर्ने माग राखेका हुन् ।
अहिले नेपालमा कारोबार अवैध मानिएका भारु ५ सय र २ हजार दरका नोट चलनचल्तीमा ल्याउँदा त्यसले द्विदेशीय व्यापार सहज हुने, भारुको सञ्चिति बढ्ने र पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने उद्योगी व्यवसायीको भनाइ छ । ठूला दरका भारु नोट चलाउँदा वैदेशिक व्यापारमा सहज हुने र विदेशी मुद्रा सञ्चितिको चाप पनि केही कम हुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । ठूला दरका भारु चल्तीमा ल्याउनुपर्ने र प्रतिव्यक्ति बोक्न मिल्ने नगदको सीमा भारु २५ हजारबाट भारु २ लाख ५० हजारसम्म पुर्‍याउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति सभापति सन्दीपकुमार अग्रवालको भनाइ छ । ‘विदेशी मुद्रा आर्जनका लागि पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । भारतीय बैंकका डेविट र क्रेडिट कार्ड नेपालमा सहजै चल्ने हुनुपर्छ । भारु ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था पनि गर्नुपर्छ,’ उनले भने ।
निजी क्षेत्रले अर्थ समितिमा यी विषय उठाएपछि पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जायज विषयलाई सरकारले कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि संसदीय समितिबाट पनि सिफारिस हुने बताए । ‘भारतले अनुमति दिन्छ भने भारु ५ सय र २ हजारका नोट चलाउन सकिन्छ । सरकारले निजी क्षेत्रको यो सुझाव सुनोस्,’ पाण्डेले भने, ‘नेपालभित्र प्रतिव्यक्ति भारु २५ हजारसम्म बोक्न पाउने व्यवस्थालाई २ लाख ५० हजारसम्म पुर्‍याउनुपर्ने माग पनि जायज छ ।’
ठूला दरका भारतीय नोट कारोबार नेपालमा वैध गरिनुपर्ने निजी क्षेत्रको मागपछि त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आउन थालेका छन् । सन् २०१६ नोभेम्बरमा भारतले नोटबन्दी गरेपछि नेपालमा रहेको भारु नसाटेको दृष्टान्तबाट पाठ सिक्नुपर्ने धारणासमेत आउन थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार करिब भारु ७ करोड अहिलेसम्म भारतीय रिजर्भ बैंकबाट सटही भएको छैन । राष्ट्र बैंक र रिजर्भ बैंकले पटक–पटक छलफल गरे पनि नोट साट्ने विषय हालसम्म टुंगिएको छैन । यसरी विगतमा जस्तै भविष्यमा पनि भारतले गर्ने मौद्रिक र वित्तीय नीतिको फेरबदलबाट नेपालले घाटा बेहोर्ने अवस्था आउन सक्ने भएकाले सुझबुझपूर्ण तरिकाले मात्र निर्णय लिनुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल बताउँछन् ।
‘नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग भएकाले त्यसको सहजताका लागि भारु ५ सय र २ हजार दरका नोट नेपालमा चलाउन सकिन्छ,’ उनले भने, ‘अर्को देशको रुपैयाँमा भर पर्दा भोलिका दिनमा त्यहाँ हुने नीतिगत परिवर्तनले नेपालमा कस्तो समस्या सिर्जना गर्छ भनेर पहिले हामी आफैं स्पष्ट हुन जरुरी छ ।’ अहिले ठूला दरका भारतीय नोट नेपालभित्र कारोबार अवैध हो । तर खुला सिमाना र नेपालबाट धेरै मानिस भारतमा काम गर्न जाने भएकाले अहिले पनि भारु ५ सय र २ हजार दरका नोट नेपालभित्र कारोबार भइरहेका छन् । भारतले नयाँ जारी गरेका ५ सय २ हजार दरका नोट नेपालमा कारोबारका लागि अनुमति नदिइएको नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउँछन् । ‘नेपाली भूमि प्रयोग भएर नक्कली भारु नोट कारोबार बढेको भन्दै भारतीय रिजर्भ बैंकले फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट (फेमा) मार्फत नेपालमा एक जनाले भारु २५ हजारसम्म मात्र राख्न सक्ने व्यवस्था गरेको थियो । नोटबन्दी भएर नयाँ नोट आएपछि यो व्यवस्था पनि लागू छैन,’ शिवाकोटीले भने, ‘नोटबन्दीअघि चल्तीमा रहेका नोट यसै पनि अवैधानिक भए । ५ सय र २ हजार दरका नयाँ नोटको कारोबार पनि अहिले नेपालमा अवैध हो । किनभने फेमामा त्यो व्यवस्था छैन ।’ पाकिस्तानीहरूले नेपालबाट नक्कली भारुको कारोबार गर्ने गरेको भन्दै भारतले नेपालमा एक जनाले बोक्न पाउने भारुको सीमा २५ हजार तोकिदिएको तर अहिले त्यो व्यवस्था कार्यान्वयनमा नरहेको शिवाकोटीले बताए ।

अर्थ वाणिज्य

वीरगन्जका उद्यमीका मागैमाग

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, गभर्नरलगायतसँग आयकरमा छुट, बैंक ब्याजदर घटाउनुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि औद्योगिक सुरक्षा बल राख्नेसम्मका आग्रह
- राजु चौधरी

(काठमाडौं)
सरकारी उच्च अधिकारीसँग वीरगन्जका उद्योगी व्यवसायीले दुई दर्जनभन्दा बढी माग राखेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता नेतृत्वमा काठमाडौं आएका उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्च अधिकारी भेटेर आफ्ना माग राखेका हुन् ।
अर्थतन्त्रमा देखिएको तरलताको अभाव, बैंक ब्याजदर, सीमा नाका, औद्योगिक क्षेत्रका समस्यालगायत विषयमा उनीहरूले समाधानको माग राखेका छन् । प्रधानमन्त्री देउवासँगको भेटमा बारा–पर्सा औद्योगिक करिडोरलाई औद्योगिक करिडोरका रूपमा घोषणा तथा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्न माग गरिएको संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले जानकारी दिए । ‘वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा नेपालकै ७० प्रतिशत औद्योगिक लगानी छ । यस करिडोरलाई विधिवत् रूपमा राज्यले औद्योगिक करिडोर घोषणा गर्नुपर्ने हाम्रो मान्यता छ,’ गुप्ताले भने, ‘यससँगै वीरगन्ज–ठोरी करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिनुपर्छ ।’
गृहमन्त्री खाँणसँगको भेटमा उद्योगीहरूले स्थानीय स्तरबाट भइरहेको नेपाल–भारत सीमा सुरक्षा बैठकलाई टेवा पुर्‍याउन केन्द्रीय स्तरबाट भारत सरकारसँग आवश्यक पहल हुनुपर्ने माग गरेको जनाइएको छ । अपराधीहरूको सञ्जाल आश्चर्यजनक किसिमले विस्तार हुँदै गएकाले दुई मुलुकबीचको सुरक्षा बैठक अत्यावश्यक रहेको गुप्ताले बताए । ‘सीमा सुरक्षा बैठकलाई नियमित गर्न सकियो भने सीमा पारिबाट हुने आपराधिक क्रियाकलाप न्यून हुन्छन्,’ उनले भने, ‘सम्भाव्य अपराधका सूचना आदानप्रदानमा धेरै सहयोग मिल्ने भएकाले बैठकहरू पुनः नियमित गर्न अनुरोध गरेका छौं ।’
अर्थमन्त्री शर्मासँगको भेटमा संघका अधिकारीले आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी अत्यावश्यक उपभोग्य वस्तुमा कम दरको मूअ कर लागू गरिनुपर्ने, बैंकहरूले १० प्रतिशत मार्जिन रकम भनी आयातकर्ताको खाताबाट कट्टा गर्ने वा खातामा रोक्का राख्ने परिपाटी पनि अन्त्य गरिनुपर्ने माग गरेका छन् । ‘व्यक्तिगत र पारिवारिक आयको छुट सीमालाई वृद्धि गरी क्रमशः एकल व्यक्तिको ८ लाख तथा दम्पतीको हकमा ८ लाख ५० हजार रुपैयाँसम्मको आयमा आयकर छुट गरिनुपर्ने माग छ,’ संघले भनेको छ, ‘यीबाहेक तयारी मालवस्तु र औद्योगिक कच्चा पदार्थको भन्सार दरबन्दीमा १५ प्रतिशत फरक हुनुपर्छ ।’
अहिले दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार लाग्छ । तर यी दुवैमा फरकफरक हुनुपर्ने संघको माग छ । ‘नेपाली दाल निर्यातकर्ताहरूलाई सरकारले ४ प्रतिशत सहुलियत दिने गरेको थियो । तर अहिले पूर्ण रूपमा हटाएको छ । दाल तथा यसको पिना निर्यात गर्दा प्रतिकिलो १ र ५० पैसा भन्सार लगाएको छ,’ अध्यक्ष गुप्ताले भने, ‘यसलाई शून्यमा झार्नुपर्छ ।’
औद्योगिक विकासका लागि मेसिनहरूको आयात आवश्यक रहेको र विदेशी मिल मेसिनरीका पार्टपुर्जालाई भारतबाट आयात गर्न व्यवस्था हुनुपर्ने संघको माग छ । विशेष आर्थिक क्षेत्रमा उद्योगीलाई बिक्री गरिने प्लटहरूको दर घटाउनुपर्ने माग पनि उद्यमीका छन् । निर्यात हुने प्रतिशतको मात्रा पनि घटाउनुपर्ने संघले बताएको छ । ‘अहिले प्रतिस्क्वायर दर प्रतिमहिना २० रुपैयाँ छ, त्यसलाई ५ रुपैयाँमा झार्नुपर्छ,’ गुप्ताले भने, ‘मापदण्डअनुसार ६० प्रतिशत निर्यात गर्ने उद्योगलाई मात्र सेजमा राख्ने प्रावधानको साटो २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई पनि स्थान दिने प्रावधान ल्याउनुपर्छ ।’ अहिले सेजमा सञ्चालित उद्योगका लागि ५ देखि १० वर्षसम्म आयकर छुट गरिनुपर्ने उनीहरूको माग छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगको भेटघाटका क्रममा उद्यमीहरूले म्याद सकिएका औषधिको व्यवस्थापन गर्न माग गरेका छन् । ‘म्याद सकिएका औषधिको उचित व्यवस्थापन भइरहेको देखिँदैन, जसका कारण वातावरण विनाश हुनुका साथै मानव जीवनमा प्रत्यक्ष असर परिरहेको छ,’ गुप्ताले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा उद्यमीहरूले तरलताको अभाव, रेमिट्यान्ससम्बन्धी समस्या समाधानलगायत माग गरेका छन् ।

यी हुन् माग
   - आयकर छुटको सीमा परिमार्जन
   - सीमा सुरक्षा बैठकको नियमितता
   - औद्योगिक सुरक्षा बल पुनःस्थापना
   - नगद रकम कारोबारमा निश्चितता
   - बैंक ब्याज दर सिंगल डिजिट हुनुपर्ने
   - औषधि विकास परिषद् गठन
   - मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू
   - भीसीटीएस त्रुटिमा जरिवाना कम गरिदिनुपर्ने
   - तरलता अभावमा तत्काल यथोचित पहल
   - सुक्खा बन्दरगाहको पूर्वाधार विस्तार
   - भीसीटीएसमा देखिएका समस्या समाधान
   - लामो अवधिको उधारो कारोबार सीमा घटाइदिनुपर्ने
   - तरलता अभाव टार्न पुँजीगत खर्चमा तीव्रता
   - बैंकहरुले १० प्रतिशत मार्जिन रकम रोक्का परिपाटी अन्त्य
   - मेसिनरी पार्ट भारतबाट आयात गर्ने  
   - एकीकृत जाँच चौकीमा शीत भण्डार, दमकल र एम्बुलेन्सको व्यवस्था
   - बारा–पर्सालाई औद्योगिक करिडोर घोषणा र नयाँ औद्योगिक क्षेत्र स्थापना
   - तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरबन्दीमा १५ प्रतिशत फरक हुनुपर्ने
   - वीरगन्ज–रक्सौल ह्याप्पी बोर्डर, २५/२५ किमिसम्मको भौतिक पूर्वाधार विकास
   - तराई–काठमाडौं द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

अर्थ वाणिज्य

तातोपानीबाट भित्रियो ५३९ टन मल

- अनिश तिवारी

(सिन्धुपाल्चोक)
तातोपानी नाकाबाट शुक्रबारसम्म ५३९ टन युरिया मल भित्रिएको छ । अहिलेसम्म १५ सयमध्ये ५ सय ३९ टन मल सीमा क्षेत्रमा भित्रिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । बुधबारयता १९ कन्टेनर आइपुगेकामा धेरैमा युरिया मल आइरहेको र केहीमा कुखुराको दाना र स्याउ रहेको उनले बताए ।
‘बाँकी कन्टेनर मल पनि चीनबाट नेपालका लागि छुटिसकेका छन्, भन्सार प्रक्रिया पूरा गर्नुपरे पनि कृषिजन्य सामग्री आयातमा भन्सार महसुल पूर्ण छुट दिइएको छ,’ गौतमले भने । भन्सार प्रक्रियाबीच युरिया मलको नमुना परीक्षणका लागि भन्सार विभाग पठाइएको र ल्याबको रिपोर्ट आएपछि काठमाडौंका लागि छुट्ने उनले उल्लेख गरे । यसअघि चीनबाट रासायनिक मल आयात गर्न टेन्डर पाएको सिल्क मार्केट कम्पनीले युरिया भित्र्याएको हो ।
६ महिनाअघि सिल्कले पहिलो चरणमा केही कन्टेनर मल भित्र्याएको थियो । केही समय चिनियाँ पक्षले कृषिजन्य सामग्री आयातमा रोक लगाएपछि अहिले प्रतिदिन आठ कन्टेनरबाट बाँकी भित्र्याइँदै छ । ‘बाँकी मलसहित अन्य फलफूल बोकेको कन्टेनर खासा र न्यालमबाट आउँदै छन् । अन्य व्यापारिक सामग्री कन्टेनरमा खासै आएका छैनन्,’ उनले भने । यसअघि सिल्क मार्केटले चीनको छिन्हाई सहरस्थित उत्पादकसँग मल खरिद गरेकामा ग्लोबल टेन्डरमा प्रतिटन मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो ।
सिल्कले उताबाट व्यावसायिक रूपमा किनेको कृषि सामग्री मल संस्थानलाई टेन्डरअनुरूप बुझाउनेछ । ‘मलको अभाव बेहोरिरहेका स्थानीय किसानबीच यस खबरले केही उत्साह थपिदिएको छ, यो धेरै खुसीको कुरा हो,’ भोटेकोसी–३ का अध्यक्ष कैलाश पौडेलले भने । ग्लोबल टेन्डरपछि नेपाल सरकारले सिल्क मार्केटलाई चीनबाट १० हजार टन रासायनिक मल आयात गर्ने ठेक्का दिएको थियो ।

Page 6
समाचार

चुनावी समीकरण गर्ने दिशामा कांग्रेस

स्थानीय आवश्यकताका आधारमा मात्रै समीकरण गर्नुपर्ने नेताहरुको सुझाव, गठबन्धन नगरी जित्न नसकिने देउवाको निष्कर्ष
- कलेन्द्र सेजुवाल
सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेता ।  तस्बिर: रासस

(काठमाडौं)
आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन दलसँग चुनावी समीकरण गर्ने दिशामा अघि बढेको छ । शुक्रबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवासहित अधिकांश वक्ताले समीकरणको पक्षमा धारणा राखेका छन् । समीकरणको खाका र कार्यान्वयनबारे भने फरक–फरक मत आएका छन् ।
सभापति देउवाले आगामी निर्वाचनमा गठबन्धन दलबीच समीकरण गरेर जानुपर्ने बताए । चुनाव जित्नका लागि गठबन्धन गर्नैपर्ने बाध्यता उनले सुनाए । केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले चितवनको गत निर्वाचन परिणामको प्रसंग झिक्दै गठबन्धनको विपक्षमा बोलेका थिए । उनीहरूले गत स्थानीय तहमा भरतपुर महानगर माओवादी केन्द्रलाई दिएको र अहिले पनि त्यही अवस्था आए कांग्रेस मतदातालाई सम्झाउन नसकिने बताएका थिए । गठबन्धन बन्दैमा जित्न नसकिने भएकाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने उनको भनाइ थियो । तर, बैठकको अन्त्यतिर सभापति देउवाले चितवनमा समीकरण नगरी जित्न नसकिने बताए । ‘गठबन्धन हुँदैन भने कसरी जित्न सकिन्छ ? ठूलो कुरा गरेर मात्र हुन्छ ?’ आक्रोशित हुँदै उनले भने, ‘चुनाव हारेको हार्‍यै छ, फेरि गठबन्धन पनि नगरौं भन्नुहुन्छ । चुनाव जित्न परेन ?’ प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले यति छिट्टै ‘ओली–आतंक’ कसरी बिर्सेको भन्दै गठबन्धनविरुद्ध बोल्ने नेताहरूलाई प्रश्न गरेका थिए ।
बैठकमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका सभापति, ‘गाउँ–गाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियानमा खटिएका २० जना केन्द्रीय प्रतिनिधि र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले धारणा राखेका थिए । अधिकांश नेताले स्थानीय स्तरको आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने बताएका थिए । ‘चुनावी गठबन्धन गर्दैमा जितिन्छ भन्ने आधार के छ ? त्यसैले यसमा वडादेखि नै गम्भीर रूपमा छलफल गरौं,’ लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, ‘हचुवाको भरमा गठबन्धन गर्दा त्यसले कांग्रेसलाई फाइदा गर्दैन ।’ उनले भारतमा कांग्रेस आई गठबन्धनमै निर्भर हुँदा कमजोर भएको उदाहरण प्रस्तुत गर्दै एक्लै लड्ने गरी शक्ति परिचालन गर्नुपर्ने बताए । कर्णालीका सभापति ललितजंग शाहीले परिस्थितिअनुसार गठबन्धन दलबीच चुनावी समीकरण हुनु स्वाभाविक भए पनि स्थानीय स्तरमा त्यसको औचित्य स्थापित गर्नुपर्ने बताए । ‘गठबन्धनको निर्णय केन्द्रबाट लादेर हुँदैन, गर्नैपर्ने भए आवश्यकता र औचित्यको आधारमा तलबाटै गर्नुपर्छ,’ उनले बैठकमा भने ।
अभियानमा खटिएका केन्द्रीय सदस्यले सम्बन्धित जिल्लाको अवस्था र समीकरणबारे जानकारी गराएका थिए । कञ्चनपुरको रिपोर्टिङ गर्दै केन्द्रीय सदस्य नैनसिंह महरले केन्द्रबाट निश्चित मापदण्ड बनाएर स्थानीय आवश्यकतालाई आधार बनाई समीकरण गर्नुपर्ने बताए । ‘गठबन्धन गर्नै परे सरकारमा सम्मिलित दलसँग मात्र गर्नुपर्छ,’ उनको भनाइ थियो, ‘गठबन्धन गर्दैगर्दा भुइँको टिप्न खोज्दा खल्तीको फुत्किने अवस्था नआउनेतिर सचेत हुनैपर्छ ।’ उनले घोषणापत्र निर्माण गर्दा निःशुल्क शिक्षा र स्वास्थ्यको हकलाई प्राथमिकतासाथ उल्लेख गर्नुपर्ने बताए । मनाङको अवस्था रिपोर्टिङ गर्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समीकरण गर्नैपर्ने भए स्थानीय स्तरको अवस्था बुझेर गर्नुपर्ने बताए । ‘मनाङमा माओवादी केन्द्र र एकीकृत समाजवादीको प्रभाव न्यून छ, त्यसैले त्यहाँ समीकरणको आवश्यकता देखिँदैन,’ उनले बैठकमा भने, ‘अन्यत्र पनि स्थानीय स्तरको आवश्यकता र वस्तुस्थिति बुझेर समीकरणको निर्णय गर्ने जिम्मा दिनुपर्छ ।’
अधिकांश नेताले समीकरण गर्नुपर्ने आवश्यकता रहे पनि कसरी गर्ने भन्नेमा स्पष्ट निर्णय लिनुपर्ने बताए । कांग्रेस र वाम दलबीचको चुनावी समीकरण प्रभावकारी नहुने भएकाले ख्याल गर्नुपर्ने उनीहरूको सुझाव थियो । यसका साथै स्थानीय स्तरमा फरक किसिमको तालमेलको सम्भावना हुने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने नेताहरूको भनाइ थियो । केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, प्रदीप पौडेल, मदनकृष्ण श्रेष्ठ, जानकी सिंह, कर्ण बुढा, कृष्णकिशोर घिमिरे, मोहनबहादुर बस्नेत, शान्ति परियार, गोविन्द शाह, गोविन्द पोख्रेललगायतले समीकरण गर्नैपरे सत्तागठबन्धन दलबीच गर्नुपर्ने धारणा राखेका थिए ।
स्थानीय तह निर्वाचनबारे तयारी गर्न बोलाइएको बैठकको पहिलो दिनमै चितवनमा समीकरणको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको छ । यसले समीकरण गर्ने सभापति देउवामाथि चुनौती पनि थपेको छ । चितवन कांग्रेसमा नेता शेखर कोइराला समूहको जिल्ला नेतृत्व र प्रभाव छ । चितवनका कोइराला समूहकै केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने गरी समीकरण गर्न नसकिने पार्टीको स्थानीय जनमत रहेको बताएका थिए । गत स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीबीच समीकरण हुँदा माओवादीकी रेणु दाहाल मेयर निर्वाचित भएकी थिइन् । यसपटक कोइराला समूहले समीकरणविरोधी आवाज चितवनबाटै उठान गर्ने रणनीति बनाएको छ । त्यही बुझेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार चितवनमा आयोजित कार्यक्रममा समीकरणको निर्णय केन्द्रबाट हुने बताएका थिए । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत चितवनको अवस्था बुझ्न साताअघि त्यहाँ गएका थिए । ‘चुनावी समीकरणबारे चितवनको अवस्था अलि फरक छ, त्यसलाई केन्द्रीय कार्यसमिति बैठकले गम्भीरतापूर्वक मन्थन गरेर उचित निर्णय लिन्छ,’ शर्माले भने ।
केन्द्रीय कार्यसमिति बैठक आइतबार पुनः बस्नेछ । बैठकले केन्द्रीय संसदीय समिति गठन गर्नुका साथै चुनावी समीकरणबारे निर्णय गर्नेछ । सभापति देउवाले बैठकको पहिलो दिनमै समीकरणको पक्षमा आफ्नो मत राखेकाले वैशाख ३० मा हुने निर्वाचनमा सत्ता गठबन्धन दलबीच समीकरण हुने एक केन्द्रीय सदस्यले बताए । ‘अधिकांश नेताले सभापतिको भावनाअनुसार समीकरणको विपक्षमा स्पष्ट रूपमा भनाइ राख्न सकेका छैनन्, बरु पार्टीलाई फाइदा पुग्ने गरी गठनबन्धन कसरी सफल बनाउने भन्ने धारणा आएका छन्,’ ती केन्द्रीय सदस्यले भने ।
कांग्रेसको विधानअनुसार वडा सदस्य र अध्यक्षको उम्मेदवारी प्रतिनिधिसभा क्षेत्र संसदीय समिति, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको उम्मेदवारी जिल्ला संसदीय समिति, नगपालिका तथा उपमहानगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारी प्रदेश संसदीय समिति र महानगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारी केन्द्रीय संसदीय समितिले गर्ने विधानमा उल्लेख रहेको छ । सभापति देउवाले तल्लो कार्यसमितिलाई उम्मेदवारी टुंग्याउने अधिकार दिए पनि चुनावी समीकरणको खाका (मार्गनिर्देश) केन्द्रबाट पठाउने रणनीति बनाएको उनीनिकट एक नेताले बताए ।

समाचार

शिक्षक परीक्षा बिदामा, पठनपाठन अवरुद्ध

सुर्खेत/मुगु (कास)– मुगुको गमगढीस्थित महाकाली माध्यमिक विद्यालयका ९ शिक्षक शिक्षक सेवा आयोगको परीक्षा दिन सुर्खेत झरेका छन् । शिक्षक बिदामा बसेपछि विद्यार्थीहरू मुश्किलले १/२ विषय मात्रै पढेर घर फर्किने गरेका छन् ।
सोरु गाउँपालिकाको विजय माविले ६ जना र जनज्योति माविले १० जना शिक्षकलाई बिदा दिएको छ । मुगमकार्मारोङस्थित बुद्ध माविका १० जना शिक्षक पनि आयोगकै परीक्षा दिन भन्दै बिदामा छन्, जसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् ।
आगामी चैत १५ देखि आयोगले परीक्षा सञ्चालन गर्दै छ । विद्यालयमा कार्यरत अस्थायी, करार र स्थायी शिक्षकसमेत ठूलो संख्यामा एकैपटक परीक्षामा सामेल हुन भन्दै बिदामा बसेपछि केही दिनयता मुगुका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । कोरोना महामारी सुरु भएदेखि अस्तव्यस्त बनेको यहाँको शैक्षिक सत्र पछिल्लो पटक आयोगको परीक्षाले थप प्रभावित बनेको हो ।
कर्णालीका सबै जिल्लाका सामुदायिक विद्यालय स्थायी शिक्षहरूको दरबन्दी पूर्ति नहुँदा राहत, करार र निजी स्रोतका शिक्षकको भरमा छन् । ‘करार, राहत र निजी स्रोतका शिक्षकको जागिर भरपर्दो बनाउने आश नै शिक्षक सेवा आयोग हो, उनीहरू परीक्षा दिन जानु नौलो भएन,’ कालीकोटका बालअधिकारकर्मी बाले विश्वकर्माले भने, ‘तर यहाँ त स्थायी शिक्षकहरू नै विद्यालय नै बन्द गराएर माथिल्लो तहको परीक्षा दिन गएका छन् ।’ वार्षिक परीक्षाको मिति नजिकिँदै गर्दा शिक्षकहरू आयोगको परीक्षा दिन धमाधम बिदा बसेपछि सिकाइस्तरमा गम्भीर असर परेको मुगुका अभिभावक अशोक शाहीले बताए ।
कालीकोट, जाजरकोट, हुम्ला र डोल्पाबाट पनि शिक्षकहरू झन्डै २ दर्जन विद्यालय बन्द गराएरै आयोगको परीक्षामा सहभागी हुन विभिन्न जिल्ला सदरमुकाम पुगेका छन् । फाराम भरेको सम्बन्धित जिल्लामा आयोगले केन्द्र नराखिदिँदा विद्यालय बन्द गरेरै शिक्षक परीक्षा दिन जानुपरेको पूर्वशिक्षक मीनबहादुर पुनले बताए । कर्णालीमा झन्डै ९ हजार जनाले आयोगको फाराम भरेका छन् । त्यसमा करिब आधा जति विद्यालयमा कार्यरत शिक्षक नै रहेको शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले बताइन् ।

समाचार

बालिका अपहरणमुक्त, ४ पक्राउ

छोटकरी

धनुषा (कास)– जनकपुरको पुल्चोकबाट बालिका अपहरण गरी फिरौती मागेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चार वर्षीया बालिकालाई धनुषाको विदेह–८ वफैबाट प्रहरीले सकुशल मुक्त गराएको छ । घटनामा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएको एसपी वसन्त रजौरेले बताए । स्थानीय ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि खेलिरहेका बेला घरैबाट बिहीबार साँझ अपहरित भएकी थिइन् । अपहरणकारीले शुक्रबार बिहान २ वटा फरक नम्बरबाट फोन गरी १५ लाख फिरौती मागेका थिए । धनुषाका डीएसपी दीपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराएको हो । अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोलीसमेत फायर गर्नुपरेको एसपी रजौरेले बताए ।

समाचार

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

छोटकरी

काठमाडौं (कास)– मुलुकको अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल’ प्रकाशित भएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको शुक्रबार सार्वजनिक उक्त पुस्तकमा नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ९० विभिन्न नक्साहरू र ४४ विस्तृत विवरण भएका नक्साहरू र तिनको व्याख्यासमेत छ । सीमाविद् श्रेष्ठले विभिन्न पुस्तकालयबाट किनेर र अनुमति लिएर मुलुकको अन्तर्राष्ट्रिय सीमाको यथार्थ बुझाउने नक्साहरू हात पारेका थिए । उनले हावर्ड विश्वविद्यालय, ब्रिटिस म्युजियम, जोन एफ केनेडी प्रेसिडेन्सियल लाइब्रेरीलगायत पुस्तकालयबाट नक्साहरू प्राप्त गरेका थिए । उनको पुस्तकले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभाग कसरी सदीयौंदेखि नेपालको थियो र हो भन्ने ऐतिहासिक नक्साहरूले बोल्छन् भन्ने प्रस्ट पारेको छ । सन् १९१८, सन् १९२७, सन् १९५० र सन् १९६५ का नेपाल–भारत सिमानाका नक्साहरू पाएको र त्यसले प्रस्टसँग काली नदीको मुहान उल्लेख गरेको भन्दै भारतले २ नोभेम्बेर २०१९ मा आफूखुसी नक्सा जारी गरेर नेपालको भूभागमा आफ्नो दाबी जनाएको उनले बताए । 

समाचार

'मोक्षभूमि' माथि सिञ्जा संवाद

छोटकरी

सुर्खेत (कास)– वीरेन्द्रनगरमा आयोजित सिञ्जा संवादमा केशव दाहालको पुस्तक ‘मोक्षभूमि’ माथि परिचर्चा गरिएको छ । कर्णाली साहित्य समाजको आयोजनामा दाहालको उपन्यासमाथि संवाद गरिएको हो । कर्णाली साहित्य समाजका संस्थापक संरक्षक कथाकार महेशविक्रम शाहले उपन्यासकार दाहालसँग संवाद गरे । मोक्षभूमिको लेखनदेखि त्यसको विषयवस्तु र उक्त कृतिले दिने सन्देशका बारेमा शाहले प्रश्न गरेका थिए । सहिद याम बीसी स्मृति प्रतिष्ठानले सहकार्य गरेको उक्त कार्यक्रमलाई कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गरेका थिए ।

समाचार

२ कान्तिपुरकर्मीसँगै ९ पुरस्कृत

छोटकरी

काठमाडौं (कास)– सञ्चारिका समूहले पत्रकारिता क्षेत्रमा सक्रिय नौ जनालाई पुरस्कृत गरेको छ । कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुले सञ्चारिका समानता पुरस्कार पाएका छन् । ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’ समाचारका लागि समूहले दुवैलाई गत वर्षको समानता पुरस्कार दिएको हो । २०७७ भदौ ८ मा कान्तिपुर दैनिकमा प्रकाशित उक्त समाचार कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण अस्पताल पुग्न नसक्दा ज्यान गुमाउन बाध्य गर्भवती तथा सुत्केरी महिलाका विषयमा केन्द्रित थियो । समूहले रुकुमबाट पत्रकारिता गर्दै आएकी पत्रकार हीरा परियारलाई स्व. उमा सिंह स्मृति पत्रकारिता पुरस्कार २०७७ दिएको छ । समूहले उक्त विधामा अघिल्लो वर्षको पुरस्कार रौतहटबाट पत्रकारिता गर्दै आएकी बिना राउतलाई दिएको छ । यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६ मनिका विश्वकर्मा, सीतादेवी पोखरेल र २०७७ को पुरस्कार सपना थामी र सिर्जना खड्काले पाएका छन् । सञ्चारिका समानता पुरस्कार २०७६ मुना कुँवरले पाएकी छन् । समूहको २५ औं वार्षिक साधारणसभा र आठौं महाधिवेशनका अवसरमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कारहरू हस्तान्तरण गरे । समूहको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Page 7
विदेश

नेपाली श्रमिकले धानेको मनालीको अर्थतन्त्र

विकास निर्माण, पशुपालन, खेतीपाती, पर्यटन, मजदुरीलगायत मनालीमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ नेपालीले काम नगरिरहेको होस्
- राजेश मिश्र
भारत हिमाचल प्रदेशस्थित कुल्लु मनालीको माँल रोडमा बिहीबार देखिएको चहलपहल। राजेश

(मनाली, भारत)
भारत हिमाचल प्रदेशको ‘हिल स्टेसन’ मनाली पर्यटकीय स्थलका रूपमा परिचित छ । बढी गर्मी हुने भारतका विभिन्न सहरका सर्वसाधारणलाई यहाँको चिसो मौसमले लोभ्याउने गरेको छ । बर्सेनि लाखौं भारतीय नागरिक मनाली घुम्न आउँछन् । मनालीस्थित पर्यटन कार्यालयको तथ्यांकअनुसार कोरोना महामारीका बाबजुद गत वर्ष (सन् २०२१) मात्रै यहाँ २१ लाख आन्तरिक पर्यटक भित्रिएका थिए । विदेशीको संख्या भने केही हजारमा सीमित रहेको थियो । कोरोना महामारीका कारण सन् २०२० मा भने करिब ८ लाख भारतीयले मात्रै मनालीको भ्रमण गरेका थिए । भारतका विभिन्न सहरबाट मासिक सरदर डेढदेखि २ लाख जना मनाली आउने गरेको कार्यालयले जनाएको छ । मनालीको आयस्रोत आन्तरिक पर्यटकमा निर्भर रहेको यसबाटै प्रस्ट हुन्छ ।
यसरी भित्रिने पर्यटकलाई सेवा पुर्‍याउनेमा अग्रपंक्तिमा खटिएका हुन्छन्, नेपाली नागरिक । सानो हिल स्टेसन मनालीमा हजारौंको संख्यामा नेपालीभाषी छन् । कैयौंको त पुस्तान्तरण नै भइसकेको छ । मनाली बजारमा जताततै नेपाली कामदारहरू नै भेटिन्छन् । बिहीबार स्थानीय ‘माँल रोड’ मा एक हूल नेपालीहरू नाम्लो र रस्सी बोकेर उभिएका भेटिए । उनीहरू कुल्लीको काम गर्छन् । उनीहरूलाई कसैले नाम्लो त कसैले रस्सी पाटीका रूपमा बोलाउँछन् । कामका लागि उभिएकामध्ये कैलालीका विनोद बम भन्दै थिए, ‘धेरै नेपालीहरू यहाँ बस्नुहुन्छ, उहाँहरूबाटै सम्पर्क हुन्छ । र, बेलाबेला काम गर्न यहाँ आउँछु ।’ विनोदको समूहमा दैलेख, बागलुङ, कैलाली र बर्दियाका व्यक्तिहरू थिए । उनीहरूले भन्दै थिए, ‘मनालीको मुठो (पैसा) र नेपालको पानीले आफूहरूको घर चलेको छ ।’
मुख्य बजारमै छ, लक्ष्मी चिया पसल । त्यसका सञ्चालकदेखि कामदारहरू सबै नेपाली । टेबल–टेबलमा चिया पुर्‍याउन उनीहरूलाई भ्याइनभ्याई थियो । त्यहाँ कार्यरत ४ जनामध्ये दैलेखका राजबहादुर खत्रीले आफू मनाली आएको ३० वर्ष भइसकेको बताए । ‘अहिले ४६ को भए, १६ वर्षको हुँदा यता आएको रहेछु,’ उनले भने, ‘मनालीमै गरेको श्रमले आफ्नो जिन्दगी धानिएको छ ।’ बागलुङ मिसीखोलाका रवि पुन मगर सन् १९८३ मा २३ वर्षको हुँदा मनाली आएको सम्झिन्छन् । ‘उताकै जस्तो पहाड, नदीनाला र मौसमले नेपालमै बसेको महसुस पनि हुन्छ,’ उनले भने, ‘जीवनको ऊर्जाशील समय मनालीलाई दिइसके ।’ भौतिक पूर्वाधार निर्माणमा संलग्न रहँदै आएका उनले केही वर्षदेखि आफैं निर्माण व्यवसायीका रूपमा काम गरिरहेका छन् । दर्जनौं नेपाली युवालाई रोजगारी पनि दिइरहेका छन् । ‘मैले उहाँहरूबाट र उहाँहरूले मबाट सहयोग पाउनुभएको छ, एकअर्काको पूरक बनेर बसेका छौं,’ उनले सुनाए ।

भारीको प्रतीक्षामा नाम्लो लिएर उभिएका नेपाली कामदार । राजेश


मनालीलाई जोड्ने सडक खन्ने कार्यमा पनि नेपालीहरू नै थिए । ‘ठूला चट्टानलाई फुटाएर मनालीसम्म सडक ल्याउने कार्यमा हाम्रो योगदान छ,’ सडक विभागकै स्थायी जागिरे सिन्धुपाल्चोकका साइँला लामा शेर्पाले कान्तिपुरलाई सुनाए । मनाली हिमाचल प्रदेशको कुल्लु जिल्लामा पर्छ । कुल्लुमा मात्रै ७० हजार नेपालीको बसोबास रहेको लामाले बताए । उनका अनुसार मनालीको सडक, जल र वन सम्बन्धित कार्यालयमा ६ सय नेपाली स्थायी रूपमै कार्यरत छन् । ‘राजधानी सिमला र अन्य जिल्लालाई पनि जोड्ने हो भने यो संख्या २ हजारभन्दा बढी छ,’ उनले भने ।
सडक विभागको ‘मेठ’ पदमा कार्यरत लामामातहत २० कर्मचारी/मजदुर खटिन्छन् । उनी अबको २ वर्षमा ६० वर्ष उमेर हदका कारण सरकारी सेवाबाट अवकाश पाउँदै छन् । मंगोलियन समुदायको बसोबास रहेकाले पनि मनालीमा धेरै पहिलेदेखि रोजगारी गर्न नेपालीहरू आउने गरेका उनले बताए । ‘स्थानीयहरू स्याउ खेती र पर्यटन क्षेत्रको आम्दानी तथा व्यापार व्यवसायबाट सम्पन्न छन् । जो छैनन्, उनीहरू पनि कामदार भएर काम गर्न चाहँदैनन्,’ उनले भने, ‘स्याउ टिप्न र घाँस काट्नमात्रै बर्सेनि मौसमी रूपमा हजारौं नेपाली कामदार यहाँ आउँछन् । केही महिनाको काम गरेपछि फर्किन्छन् । तिनको औपचारिक रेकर्ड त हामीले राख्नै सकेका छैनौं ।’ मनालीमा कुनै यस्तो काम छैन, जसमा नेपालीको संलग्नता नभएको होस् । सडक खन्ने, नदीजन्य पदार्थको उत्खनन, भवन निर्माण, पशुपालन, खेतीपाती, सवारी चालक, कुली, होटलमा सेफदेखि मजदुरीसम्म जताततै नेपालीले काम गरिरहेको भेटिने रोल्पा सुलिचौरका रतनलाल मगरले बताए । उनी आफू पनि सन् २००६ देखि यतै छन् । पर्यटकलाई प्याराग्लाइडिङ, र्‍याफ्टिङ, डाइभिङ, जीपलाइन, क्लाइम्बिङजस्ता साहसिक खेल खेलाउने कार्यमा पनि नेपाली युवाले कौशलता देखाएका छन् ।
भारतको राजधानी नयाँदिल्लीबाट ५ सय ७५ किलोमिटरको दूरीमा रहेको मनाली ठूलो सहर भने होइन । तर, हिउँ हेर्न/खेल्न, तातोपानी नुहाउन, व्यास नदीमा र्‍याफ्टिङ गर्न पर्यटकको घुइँचो नै लाग्ने गर्छ । ‘नेपालको पहाडी क्षेत्रमा पाइने जस्तै सुविधाहरू नै हो मनालीको आकर्षण, त्योभन्दा भिन्नता केही छैन,’ लामाले भने, ‘नेपालमा यस्ता ठाउँ एउटा/दुइटा होइन सयौं वा हजारौं बन्न सक्छन् । भारतीय पर्यटकलाई मात्रै उनीहरूले खोजेको अनुसारको सेवा सुविधा र सम्मान दिन सक्यो भने त्यसैले पनि नेपालका युवाहरूलाई उतै रोक्न सकिन्थ्यो ।’ उनले यहाँका मानिसले विदेशीबाट होइन, आफ्नै नागरिकलाई घुम्न बोलाएर कमाइरहेको उल्लेख गरे ।
भारतीय पत्रिका ‘पन्जाब केशरी’ का स्थानीय पत्रकार सोनु शर्मा मनालीको सानोदेखि ठूलो काम नेपालीहरूकै भरमा धानिएको बताउँछन् । ‘नेपालीहरू परिश्रमी र विश्वासिलो हुन्छन् । मनालीको पर्यटन, कृषि र निर्माण उद्यममा नेपालीहरूको धेरै ठूलो योगदान छ,’ उनले भने, ‘कुल्लु मनाली मात्रै होइन, छिमेकी लाहोल जिल्ला पुग्नुस्, त्यहाँ पनि कृषि कार्यमा नेपालीहरू नै भेटिन्छन् ।’ कुल्लु जिल्लाको जनसंख्या ५ लाख हाराहारी छ । त्यसभित्र ७० हजार नेपाली हुनुले पनि उनीहरूको योगदान कति होला भन्ने अनुमान लगाउन सकिने उनको भनाइ छ ।

विदेश

‘एक महिनामा १०८१ युक्रेनी मारिए’

१३५ बालबालिकाको मृत्यु हुँदा रूसी सैनिकतर्फ १३५१ जनाको हताहती
युक्रेनको खार्किभमा शुक्रबार रुसी सेनाले प्रहार गरेको मिसाइलका कारण जल्दै गरेको कार । तस्बिर: एपी

किभ (एजेन्सी)– रुसले युक्रेनमा गरिरहेको आक्रमणमा हालसम्म एक हजार जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । एक महिनाको यो अवधिमा कम्तीमा १ हजार ८१ जना सर्वसाधारणको मृत्यु भएको छ भने १ हजार ७ सय ७ जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । बालबालिका मात्रै १ सय ३५ जना मारिएका छन् । युक्रेनले नाटोको सदस्यता लिन लागेको भन्दै रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि ‘सैन्य कारबाही’ थालेको थियो ।
यसअघि रुसले सैन्य कारबाही युक्रेनी सर्वसाधरणलक्षित नरहेको दाबी गरे पनि ठूलो संख्यामा सर्वसाधारण मारिएका र अंगभंग भएका छन् । हजारौं भौतिक संरचना ध्वस्त बनेका छन् । आक्रमणको सबैभन्दा बढी असर देखिएको डोनेत्स्क राज्यको मरिओपुललगायत क्षेत्रमा मृतकको संख्या यकिन गर्न अधिकारीहरू खटिएको पनि राष्ट्रसंघले जनाएको छ । यसअघि राष्ट्रसंघले लगातारको आक्रमणका कारण युद्ध क्षेत्रमा तथ्यांक संकलन गर्न कठिन भइरहेको उल्लेख गर्दै मृतक र घाइतेको संख्या युक्रेनी अधिकारीले सार्वजनिक गरेको भन्दा धेरै बढी हुन सक्ने अनुमान गरेको थियो ।
गत साता मरिओपुलस्थित एक थिएटरमा रुसले गरेको मिसाइल आक्रमणमा परी ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । सुरक्षित स्थानको खोजीमा पोल्यान्ड हुँदै युरोप छिर्न आएका युक्रेनीहरू उक्त थिएटरमा आश्रय लिइर बसिरहेका थिए । मिसाइल आक्रमणबाट भवनको ८० प्रतिशत हिस्सा ध्वस्त भएको थियो । आक्रमण हुनुअघि थिएटरमा ६ सय जनाभन्दा बढीले आश्रय लिइरहेका थिए । तर, घटनाको तेस्रो दिनसम्म उनीहरू सबैको उद्धार हुन सकेको थिएन । थिएटर आसपासको क्षेत्रमा लगातार गोलाबारी भइरहेकाले उद्धारकर्ताहरू समयमै उद्धारमा खटिन पाएका थिएनन् । जसका कारण पनि धेरैको ज्यान गएको मरिओपुलका डेपुटी मेयरका सल्लाहकार पेटर आन्द्रेउस्चेन्कोले बीबीसीसँग भनेका छन् । सहरको मध्य क्षेत्रमा अझै पनि दोहोरो भीडन्त जारी रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर रुसी सेनाले सहरलाई नियन्त्रणमा लिन भने सकेको छैन ।’
राष्ट्रसंघले भने मरिओपुलमा हालसम्म २ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । मरिओपुलका मेयरका अनुसार हजारभन्दा बढी नागरिक अझै भग्नावशेषमा फसेका जनाएका छन् । प्रत्येक दिनजसो भइरहेको मिसाइल प्रहारले मानवीय संकटको अवस्था सिर्जना भएको जनाउँदै उनले सहरलाई पुरानै अवस्थामा फर्काउन वर्षौं लाग्ने बताएका छन् ।
रुसी सेनाले शुक्रबार खार्किभको एक स्वास्थ्य संस्थामा समेत मिसाइल प्रहार गरेको छ । जसमा परी हालसम्म ४ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । खार्किभ रुसी सेनाले सबैभन्दा धेरै बमबारी गरिरहेको युक्रेनी सहरमध्ये एक हो । रुसले युक्रेनको उत्तर, दक्षिण र पश्चिम क्षेत्रबाट लगातार आक्रमण बुनिरहेको छ । तर अपेक्षित जित भने हासिल गर्न सकेको छैन । राजधानी किभको नजिकै (करिब ५ किलोमिटरको दूरी) पुगे पनि रुसी सेना त्यहाँको मुख्य बजार क्षेत्रमा प्रवेश गर्न सकेको छैन । अमेरिका, बेलायतलगायत नाटो मुलुकबाट हतियार सहयोग पाएको युक्रेनी सेनाले डटेर रुसी सेनाको सामना गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
रुसी सेनातर्फ हालसम्म १ हजार ३ सय ५१ सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमण थालेयता दोस्रो पटक क्षतिको विवरण सार्वजनिक गर्दै रुसी सेनाले आफ्ना ३ हजार ८ सय २५ सैनिक घाइते भएको रुसी समाचार एजेन्सी रिया नोभोस्तीले लेखेको छ ।  यसअघि युक्रेनी सेनाले भने १५ हजार रुसी सैनिक मारिएका दाबी गरेको थियो । अमेरिकी गुप्तचर निकायले भने साढे ७ हजार रुसी सैनिक मारिएको हुन सक्ने जनाएको थियो । रुसी रक्षा मन्त्रालयले गत मार्च २ मा पहिलो पटक आफ्नोतर्फको क्ष्िातको विवरण सार्वजनिक गरेको थियो । जसमा ४ सय ९८ सेवक मारिएको उल्लेख थियो ।

अमेरिकाले रासायनिक हतियार प्रयोग नगर्ने
रुस–युक्रेन युद्धका क्रममा अमेरिकाले रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ । रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने संकेत दिएकोमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको शुक्रबार स्पष्ट पारेका हुन् । ‘रुसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ । यद्यपि अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन,’ उनले भनेका छन् ।

Page 8
खेलकुद

आर्मी र पुलिस फाइनलमा

- कान्तिपुर संवाददाता
नेपालगन्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलमा प्रतिस्पर्धा गर्दै हरियाणा (पहेँलो) र नेपाल पुलिसका खेलाडी । तस्बिर: कान्तिपुर

(धनगढी)
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भिड्ने भएका छन् ।
शुक्रबार सेमिफाइनलमा आर्मीले विभागिय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ को सेटले हरायो । आर्मीले २५–२१, २५–१६ ले लगातार दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट २४–२६ ले गुमायो । चौथो सेटमा लय समात्दै २५–१८ ले सेट आफ्नो पक्षमा पार्दै आर्मी फाइनल पुगेको हो । म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए ।
अर्को सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा रोक्यो । २५–१६, २५–१९ ले लगातार दुई सेट जितेको पुलिसले त्यसपछि दुई सेट गुमायो । २२–२५, २३–२५ ले सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा पुग्यो । उक्त सेट पुलिसले १५–१२ ले जित्दै फाइनल पक्का गर्‍यो । म्यान अफ द म्याच पुलिसका रविन चन्द भए ।
फाइनल शनिबार बिहान हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । विजेताले ४ लाख, उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

हरियाणा र न्यु डायमन्ड सफल
नेपालगन्ज– आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा शुक्रबार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले विजयी भएका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६, १५–१३ ले नतिजा निकालेको थियो । पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् । पहिले लगातार दुई सेट गुमाएको हरियाणा तेस्रो सेटदेखि लय समात्न सफल भयो । रेलवे टिमका खेलाडीसम्मिलित हरियाणाले पुलिसविरुद्ध जित निकाल्न निकै मिहिनेत गरेको थियो । हरियाणाका प्रशिक्षक सुरेन्द्र सिंहले च्याम्पियन बन्ने उद्देश्यका साथ नेपालगन्ज आएको बताए । ‘केही नयाँ खेलाडी भएकाले तालमेल मिलाउन अलि गाह्रो भयो,’ उनले भने, ‘तेस्रो सेटदेखि खेलाडीहरू लयमा फर्कन सफल हुँदा विजयी बन्न सफल भयौं ।’
पुलिसका प्रशिक्षक रुपेश विष्टले खेलाडीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताए । ‘टिम सेट नभए पनि टिमवर्क राम्रो देखिएको छ,’ उनले भने, ‘आगामी खेलमा कमजोरी सुधार गर्नेछौं ।’ दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्स (छत्तीसगढ) लाई २५–१२, २५–८, २५–५ को सेटमा हरायो । न्यु डायमन्डकी रीमा कुँवर प्लेयर अफ द म्याच घोषित भइन् ।
शनिबार लुम्बिनी युनाइडेडविरुद्ध हरियाणा तथा आर्मीविरुद्ध एकलव्य स्पोटर््सले प्रतिस्पर्धा गर्नेछ ।

खेलकुद

गण्डकी च्याम्पियन

- चित्रांग थापा
मुख्यमन्त्री कप यू–१९ च्याम्पियन गण्डकी प्रदेश टोली । तस्बिर: कान्तिपुर

(धनगढी)
गण्डकी प्रदेशले मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गण्डकीले फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जित्यो । गण्डकीले २ लाख, उपविजेता कर्णाली प्रदेशले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार टस जितेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाई ६४ रन बनायो । ६५ रनको लक्ष्य पछ्याएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो । ज्योत्सनिका मरासिनीले ११, सिर्जना पौडेल र आङ्पेम्बलुम्बा शेर्पाले ९–९ रन बनाए । कर्णालीकी श्रीमीसिंह थारुले ४ विकेट लिइन् । बिना थापाले २ र एन्जिला थापाले १ विकेट लिए । त्यसअघि कर्णालीको इनिङ्समा किरणकुमारी कुँवरले एक्लै सम्हालिन् । ६७ बल खेलेकी उनले २९ रन जोडिन् । गण्डकीबाट आकृति तिवारीले २, मनीषा उपाध्याय र ज्योत्सनिकाले १–१ विकेट लिए । प्लेयर अफ द म्याच ज्योत्सनिका भइन् ।
सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनिका मरासिनी चुनिइन् । उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन् । उत्कृष्ट बलर कर्णालीकी एन्जिला थापा र उत्कृष्ट ब्याटर वाग्मतीकी हेलिसा गुरुङ चुनिए । उनीहरूले १०–१० हजार पाए ।
विजेता खेलाडीलाई सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, क्यानका सदस्य वीरेन्द्र चन्दलगायतले पुरस्कृत गरे ।

खेलकुद

वाग्मतीमाथि मनाङको जित

- कान्तिपुर संवाददाता

(बिर्तामोड)
मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । शुक्रबार मनाङले वाग्मती युवा क्लब सर्लाहीलाई ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा मनाङका लागि विदेशी खेलाडी आफिज ओलावालेले दुई, रुपेश केसीले एक गोल गरेका थिए । एक गोल आत्मघातीमा उपहार पायो । वाग्मतीका विमल घिसिङ र जमोलले गोल फर्काए । मनाङले खेलको १४ औं मिनेटमा अग्रता लियो । दीपक राईको फ्रिकिकलाई बक्सभित्र रहेका ओलावालेले हेडमार्फत गोलमा परिणत गरे ।
वाग्मतीले २७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्यायो । विमल घिसिङले रिबाउन्ड बलमा लामो दुरीबाट गोल गरे । पहिलो हाफ बराबरीमा सकियो । दोस्रो हाफको आठौं मिनेटमा गोल गर्दै वाग्मतीले खेलमा अग्रता बनायो । विमलको छोटो पासमा जमोलले दर्शनीय गोल गरेका थिए ।
तर ६७ औं मिनेटमा वाग्मतीले आफ्नै गल्तीमा अग्रता गुमायो । आत्मघाती गोलमार्फत मनाङ खेलमा फर्किएको हो । त्यसपछि वाग्मती खेलमा फर्किन सकेन । शिशिर लेखीको लामो पासमा मनाङका मोन्सा अबोगामको कडा प्रहार वाग्मतीका खेलाडीलाई लाग्दै पोस्टभित्र पुगेको थियो । ७२ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । कप्तान विमल रानाको कडा प्रहार वाग्मतीका गोलकिपर मनोज प्रधानको हातबाट फुत्कियो । उक्त बललाई ओलावालेले गोलमा परिणत गरे । मनाङका लागि चौथो गोल ८२ औं मिनेटमा रुपेश केसीले गरेका थिए । ओलावालेले मध्यभागबाट अघि बढाएको बललाई विमल रानाको पासमा रुपेशले गोल गर्न भ्याए ।
पावर गेम खेलेका दुवै टिमले गोल गर्ने थप राम्रा अवसर गुमाए । ३९ औं मिनेटमा ओलावालेले मध्यभागबाट एक्लै अगाडि बढाएको बललाई सबै डिफेन्डर बिट भइसकेको अवस्थामा पनि पोस्टमा प्रहार गर्न सकेनन् । ६० औं मिनेटमा मनाङका दीपक राईको फ्रिकिक प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरियो । ८६ औं मिनेटमा मनाङका अबोगामले बक्सभित्रबाट गरेको कडा प्रहार वाग्मतीका गोलकिपर मनोजले पञ्च गरेर बाहिर पठाए ।
मनाङका ओलावाले प्लेयर अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । शनिबार गोर्खा ब्वाइज रूपन्देही र पुलिस क्लब दार्जिलिङ भारतबीच खेल हुनेछ ।

दोस्रो मिल्स गोल्डकप फुटबल सुरु
विराटनगर– दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार उद्घाटन खेलमा गोधूलि फुटबल क्लब धरानले उर्लाबारी मोरङलाई टाइब्रेकरमा ७–६ गोलले हराएको छ । विराटनगर जुटमिलको मैदानमा निर्धारित र अतिरिक्त समयमा दुवैतर्फवाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो । धरनाका दोर्जे तामाङ, मिलन राई, मनोज राई, हेमन्त थापामगर, दिवस सुनवार, जीवन गुरुङ र कपन कार्कीले गोल गर्दा सुशील राईको प्रहार बाहिरियो ।
उर्लाबारीका मिक्चेन तामाङ, पासाङ तामाङ, रोबर्ट घिमिरे, विकास राई, निशेष पुरी र जंगबहादर खड्काले गोल गरे । रोहन चौधरीको प्रहार बाहिरिँदा राजन बोहराको प्रहार धरानका गोलकिपर किशोर गुरुङले रोकेका थिए । उनी म्यान अफ द म्याच भए ।

धादिङ र मकवानपुर फाइनलमा
काभ्रे– प्रथम वाग्मती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा शुक्रबार धादिङ र मकवानपुर फाइनल पुगेका छन् । धुलिखेलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा धादिङले दोलखालाई ३–१ गोलले हरायो । धादिङबाट कमला घले, रितु घले र सजिना राईले गोल गरेका थिए । दोलखाकी सम्झना पाण्डेले एक गोल फर्काइन् ।
अर्को सेमिफाइनलमा मकवानपुरले सिन्धुलीलाई ४–१ ले हरायो । मकवानपुरकी पूजा लामाले ह्याट्रिक र सन्जिता बमजनले १ गोल गरे । सिन्धुलीकी वितिशा बमजनले एक गोल गरिन् । फाइनल शनिबार हुनेछ ।

खेलकुद

चन्द्राको ह्याट्रिक

महिला लिगमा भिड्दै चन्द्रपुर (रातो) र ललितपुरका खेलाडी ।

चितवन (कास)– राष्ट्रिय महिला लिग फुटबलमा शुक्रबार धनगढी उपमहानगर, ललितपुर महानगर र नेपाल पुलिस टिम विजयी भएका छन् । चन्द्रा भण्डारीको ह्याट्रिकसहित चार गोलमा धनगढीले स्याङ्जा वालिङलाई ६–० गोलको फराकिलो अन्तरले हरायो । उनी प्लेयर अफ द म्याच भइन् । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
भरतपुर महानगरपालिका–१९ स्थित शारदानगर माविको मैदानमा खेलको १० औं मिनेटमै धनगढीबाट सीमा रावलले गोल गरिन् । चन्द्रालेले २९ र ३५औं मिनेटमा गोल थपिन् । मध्यान्तरपछि दोस्रो मिनेटमै चन्द्राले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ७० औं मिनेटमा अञ्जना थुलुङले गोल गरेलगत्तै ७३ औं मिनेटमा चन्द्राले व्यक्तिगत चौथो गोल थपिन् । ललितपुर र चन्द्रपुर नगरपालिकाबीचको दोस्रो खेल भने प्रतिस्पर्धात्मक रह्यो । ललितपुर १–० ले विजयी भयो । ललितपुरकी विष्णु सम्बाहाम्फेले पहिलो हाफको इन्ज्युरी समयमा गरेको एकमात्र गोल नै निर्णायक भयो । खेलमा ललितपुरकी सिर्जना सिंह प्लेयर अफ दिन म्याच घोषित भइन् ।
तेस्रो खेलमा निर्मला उपाध्यायको दुई गोलमा विभागीय टोली पुलिस क्लबले बिराटनगरमाथि २–० को जित निकाल्यो । निर्मलाले खेलको १४ र ७५ औं मिनेटमा गोल गरेकी थिइन् । उनी नै प्लयर अफ द म्याच भइन् ।  

खेलकुद

इटाली पुग्न सकेन विश्वकप

पेरिस (एएफपी)– युरोपेली च्याम्पियन इटाली लगातार दोस्रोपल्ट विश्वकप छनोटबाट बाहिरिएको छ । इटाली युरोपेली विश्वकप छनोटमा बिहीबार नर्थ मेसेडोनियासँग १–० ले पराजित रह्यो । टोली प्लेअफमा पुग्न असफल भयो । पोर्चुगल, वेल्स र स्विडेन भने प्लेअफका लागि छनोट भएका छन् । पालेर्मोमा भएको खेलमा चारपल्टको विश्वकप विजेता इटालीविरुद्ध खेलको अन्त्यतिर एलेक्सान्डर ट्राज्कोस्भ्कीले निर्णायक गोल गरे । त्यसपछि इटालीसामु खेलमा फर्कने अवसर पनि रहेन । इटाली सन् २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको थियो । त्यतिबेला प्लेअफमा स्विडेनसँग पराजित भएको थियो । इटालीले नौ महिनाअगाडि मात्र युरो जितेको थियो । बिहीबार युरोपका अन्य खेलमा पोर्चुगलले टर्कीलाई ३–१, स्विडेनले चेक गणतन्त्रलाई १–० र वेल्सले अस्ट्रियालाई २–१ ले हराए ।

Page 9
कोसेली

असन डबली: वारि र पारि

असन चोकको ‘यता चपा’ विश्वकै सर्वाधिक पुरानो अदालतघर साबित हुन सक्ने स्थितिमा छ । तर, असनवासीहरुले यस्तो बोध गरेकै पाइादैन ।
- सौरभ


असन, मुख्य बजार नेपालकै । राजधानीमा अवस्थित र अस्तव्यस्त, केन्द्र धेरै व्यवसायीको । यसमाथि एउटा लेखोट पढ्न पाइयो केही महिनाअघि (दुई शताब्दी पुरानो बजार, १३ कात्तिक २०७८) कान्तिपुर ‘कोसेली’ मै । धीत मरेन । त्यसैले केही थपौं लाग्यो । र, लेखिए तलका सन्दर्भहरू ।

विचित्र संज्ञा:  'यता चपा !'
‘यता चपा’ अर्थात् ‘साउदर्न पेभिलियन’ (दक्षिणी मण्डप) भन्छन् असन डबली दक्षिणको भवनलाई— यस्तो जानकारी गुगलमा हालिएको छ । तर, नेवारी शब्दहरूको कुन व्युत्पत्तिले यता चपाको अर्थ दक्षिणी मण्डप हुन जान्छ ? पंक्तिकारले बुझेको छैन ।
यता चपा खासमा गीता पाञ्चालीको अपभ्रंस हो अर्थात् लिच्छविकालीन न्यायाधिकरण हो, जहाँ झगडियाहरूले गीता छोएर शपथ खाएपछि पञ्च भलादमीले फैसला दिन्थे । यही ‘यता’ शब्द यस भवनको दक्षिणपट्टि ‘वटु’ हुन गएको छ, उत्तरपट्टि ‘त्यौड’ र ‘ज्याठा’ हुन गएको छ, पश्चिमपटि ‘ङतपाचो’, ‘यटखा’ र ‘इटुमबहाल’, पूर्वपट्टि ‘झतामुगर’ टोल र ‘भोटाहिटी’ हुन गएको छ, उत्तरपश्चिममा ‘कोयताहिटी’ र उत्तरपूर्वमा ‘कोयतामार्ग’ हुन गएको छ ।
ङतपाचो स्वयम् गीता पाञ्चालीको अपभ्रंस भएको स्पष्टै छ । अर्थात् सँगैको ङतदेवी नेपालीकरण भएर नरदेवीसमेत हुन पुगेकी छन्, तिनको परिचय नै बदलिएको छ । पाञ्चाली शब्द बिग्रिएर पचली बन्न पुगेको देउताथानको उत्तर नायपाचो भएको बाट पनि ङतपाचोलाई बुझ्न सकिन्छ । चोकबीचको इनारको नाम इटुमबाट इटुमबहाल भएको हो भनी नेटमा हाल्नेहरूले बताइदिनुपर्‍यो इटुमको व्युत्पत्ति के हो ?
झतामुगरको मुगर शब्द मकर वा मकरधाराको अपभ्रंस हो । जसरी चिकंमुगल र ग्वाछेमुगल बनेको छ । यताबाट ज्याथा हुँदै झता हुन गएको हो, जसरी संस्कृतको जंगम नेवारीमा झंग (चरा) हुन पुग्छ, जाली शब्द झेल्ली र जल शब्द झोल हुन्छ । यसैबाट ज्याथाको एक ठाउँ झ्वाबहार टोल हुन पुग्छ ।
अर्थात् झतामुगर भन्नु र भोटाहिटी भन्नु एउटै हो । ‘य’ भएको हो ‘भ’ । जसरी योगिनी वा योगवती बन्न जान्छ भगवती, संयोग शब्दको ‘यो’ बदलिएर ‘भ’ हुन जाँदा लाग्छ यौनमूलक अर्थ । भोटबाटै बनेको भए हुनुपर्थ्यो भोटेहिटी । नेवारीको हिटीचाहिँ संस्कृतको स्रोतबाट बनेको हो । जसरी बन्दछ सिन्धु शब्द हिन्दु । आफूले ‘ङत’ को अर्थ नबुझ्दा ‘नर’, ‘यता’ को अर्थ नबुझ्दा ‘भोटा’ बनाइदिएका हुन् नेपालीभाषी जिब्राहरूले, नेवारहरूको दोषै छैन ।

उसको स्थान
आजको सिंगो नेपाल देशको सर्वोच्च अदालतको परिसरको तुलनामा लिच्छविकालीन काठमाडौं देशको न्यायालयको यति विशाल अनौपचारिक परिसर हुनु असनवासीहरूका निम्ति सर्वोच्च गौरवको विषय हुनुपर्ने हो ।
सेलोबादनका पर्यायवाची पाब्लो केसल्सले (कलाका पर्यायवाची पाब्लो पिकासो, कविताका पर्यायवाची पाब्लो नेरुदाजस्तै, यी तीनै जना एकै वर्ष सन् १९७३ मा बिते) संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा भनेथे— म क्याटालान हुँ र विश्वको पहिलो संसद् बेलायतमा भन्दा अघि क्याटालोनियामा स्थापना भएथ्यो । त्यसैगरी विश्वको सबैभन्दा पुरानो ‘कोर्ट हाउस’ मानिन्छ भ्यालेन्सिया, स्पेनको एक अदालतघरलाई गुगल पहिल्याउने हो भने । तर, त्यो मात्रै हजार वर्षअघिको हो । त्योभन्दा धेरै पुरानो हो– यता चपा ।
किनभने लिच्छविकालीन भनेपछि कम्तीमा १३०० वर्ष पुरानो त्यसै भयो जग भागलाई मात्रै लिने हो भने पनि । त्यसमाथि पश्चिम कुनाको इखापोखरी र इखानारायण नै पनि बनेको बुझिन्छ ‘यता’ बाट । किनभने शेषबाट शिखानारायण बन्ने हो, तर शिखाबाट इखा भएको हो भन्नलाई त्यस मूर्तिको शिरोभागमा फणाचक्र छैन । ‘इखानारायण पाँचौं शताब्दीको हुनुपर्छ’ (केही साताअघि यही अखबारमा सुदर्शन तिवारी) भन्ने टिप्पणी हेर्ने हो भने ‘गीता’ बाट ‘यता’ हुँदै ‘इखा’ बन्न ३०० वर्ष लाग्यो होला । गीता पाञ्चाली लिच्छविकालभन्दा अघिकै हुनुपर्छ । गीता बनेकै २५०० वर्षभन्दा बढी भइसकेको मानिन्छ पनि ।

थप्नैपर्ने एउटा पुच्छर
हनुमानढोकाको सबैभन्दा पुरानो भाग १६ औं शताब्दीको अन्तको भएको मानिएको छ । यसो भएपछि विसं १५३७ कै दस्तावेजमा फेला परेको वटु भन्ने स्थान नाम नेवारीको वता अर्थात् पूर्व (हनुमानढोकाको) बाट बनेको हो भन्न शंकरमान राजवंशीले मिल्दैन (‘काठमाण्डू शहर’ मा उद्धृत) । न यटखा भन्ने नाम नेवारीको येता अर्थात् पश्चिमबाट भएको हो भन्न न हेमराज शाक्यले नै मिल्छ (‘काठमाण्डू शहर’ मा उद्धृत) । किनभने हनुमानढोकाको पश्चिममा पर्दैन यटखा बरु उत्तरमा पर्छ । स्पष्ट गरौं, संस्कृतको उदयबाट वता, अस्तबाट येता बन्छ नेवारीमा ।

लक्ष्मी/असन–तिब्बती नाम
ल्हछेन भन्छन् तिब्बतीहरू शिवलाई । ल्हाको अर्थ देवता हो, यही छेन नेपालीमा सुन र संस्कृतमा सुवर्ण (राम्रो रङ) हुने हो । अर्जुन, कनक, हाटक, हिरण्य सबैको अर्थ शिव र सुन दुवै हो । सुनका निम्ति प्रख्यात नै छ तिब्बती पठार वाल्मीकिको कालदेखि नै । तर, विष्णु सुन र सम्पत्तिका पर्यायवाची होइनन्, उनकी पत्नी लक्ष्मी सम्पन्नताकी प्रतीक हुनलाई । ल्हाछेनको स्त्री रूप विकास गरेर तिनलाई विष्णुकी पत्नी भनियो भन्ने टड्कारै छ । यति बेला ऋग्वेद र यजुर्वेदतिर नजाऊँ ।
छेन्वीलुङ भनेको लक्ष्मीको प्रतिनिधि ढुंगा हो । किराँत र सुतुलुङ– राई र चाम्लिङ (पेज ३१) ले पनि स्पष्टै भनेको छ, छेन र छेन्वी भन्नु एउटै हो । यहाँ लक्ष्मीलाई प्रस्तरकै रूपमा लिइने चलन छ, जसरी स्थाणु (स्टोन, ठाउँ, थान) भन्नु प्रस्तर र शिव दुवै हो । असन नाम यही ल्हाछेनको रूपान्तरण हो । मध्यपश्चिम पहाडमा कतैकतै आमालाई चेई र पूर्वी पहाडमा सानीआमालाई छ्यामा भन्ने चलन छ । त्यो यही छेनबाट आएको हो । ल्हाछेनबाटै लच्छिन र लक्षण शब्दहरू आउँछ संस्कृत र नेपालीमा । तिब्बतमा भने शिवका निम्ति अन्य नामहरू हुन् वाङचुक क्याम्पो, लेगदेन आदि । लेगदेन पनि ल्हाछेनको रूपान्तरण हो । र, सम्भवतः लिम्बू थर लिङ्देनको ।

अन्नपूर्ण 'अजिमा'
अन्नपूर्ण अजिमा भनिन्छ, असनकी मूल देवीलाई भनेर गुगलमा सूचना हालिएको छ । अजिमामाथि विगत २–४ महिनायता कम्तीमा दुई जना लेखकहरू (वज्राचार्य, १७ पुस २०७८, चाम्लिङ, ८ माघ २०७८) ले आ–आफ्ना टिपोटहरू दिएका छन् । उद्धृत गरिएका बलदेव जुजूको तर्क आधारहीन छ । उद्धृत गरिएका कोही शान्ति सुरभजस्ताका तर्कहरूलाई टिप्ने हो भने मूल लेखककै ‘क्रेडिबिलिटी’ ध्वस्त हुन्छ । किनभने भक्तपुरको वनमालालाई लिइएको हो भने गथु कुनै किराँत गस्तीबाट बनेको होइन, गुठियारबाट बनेको हो । पाटनमा यही शब्द गठे हुन्छ । पचली कुनै किराँत पब्बीबाट बनेको होइन, पाञ्चालीबाट बनेको हो ।
तर, अज शिवको एक नाम हो र अजिमा उनकी पत्नीको । यसको मूल अर्थ हो अजन्मा अर्थात् मानिसबाट नजन्मिएको । भन्नाले स्वयं उत्पन्न वा स्वयम्भू । गौतमबज्र वज्राचार्यले स्वयम्भूस्थित अजिमालाई बौद्ध जातक कथाहरूसँग जोड्दै तिनलाई यक्षी भनेका छन् ।
तर, जातक कथा लेखिन थालेको २३०० वर्षदेखि मात्रै हो । जबकि स्वयम्भूकी अजिमा भनिने हारतीको शुद्ध नाम हरगौरी हो । भाषा वंशावलीको भाग २, पेज ६१ ले उनलाई लक्षित गर्दै भनेको छ, ‘फेरि शिम्भुका बुढियाको बालकहरूको भय पनि नरहने भयो’ । यो त्यो स्वयम्भूको कुरा हो, जसको पछिल्लो इतिहास १५०० वर्षअघिको वृषदेवबाट मात्र सुरु हुन्छ ।
तर, होमरले २८०० वर्षअघिको इलियडमा बारम्बार (बुक ७ को दुई ठाउँ, बुक ११ को पाँच ठाउँ, बुक २६ को चार ठाउँ र बुक ८, २०, २४ को एक–एक ठाउँ गरी कम्तीमा १४ पटक) ग्रीक देवी हेरालाई ‘ह्वाइट आर्म्ड हेरा’ (गोरो पाखुरा भएकी हेरा) लेखेका छन् । र, समकालीन हेसियोडले थियोगनीको बुक २१ मा पनि त्यही लेखेका छन् ।
तिनले ‘बुल आइड हेरा’ (साँढेको जस्तो ठूलो आँखा भएकी हेरा) लेखेका छन्, जुन साँढे उनका पति जियसको वाहन हो । यो त्यो हेराको प्रसंग हो, जो जियसले अन्य पत्नीबाट जन्माएका सन्तानलाई हारतीले जस्तै पटक्कै सहँदिनन्– किनभने ती हुन् नै ग्रीकहरूले हिमालय क्षेत्रबाट दक्षिण युरोपमा ओसारेका हरगौरी (दुवै अनुवाद ग्रीक अध्ययनका प्राध्यापक मार्टिन वेस्ट) ।
यसर्थ अजिमाबारेको समकालीन नेपाली बुझाइ नै सही छैन । यसो भएपछि आजुद्यो (अज देवता) यलम्बर हुँदैनन् शिव हुन पुग्छन् बरु ।

अब 'अन्नपूर्ण'
अन्नपूर्ण असन मूल बजारकी देवी हुन् । अन्न भरिएको कलश छ जमिनमा, चन्द्रमा पहिर्‍याउने चलन छ गजुरमा विशेष पूजापर्वका बेला । कलश शब्द बन्ने हो कैलाश अर्थात् शिवस्थानबाट । अन्नपूर्ण मन्दिर फर्किएको छ नै तिब्बतस्थित कैलाशतर्फ ।
चन्द्रमा शिवानीको शिरमा मात्रै हुन्छ, जसरी शिवको शिरमा, नकि विष्णुपत्नीको शिरमा । पश्चिम पहाडी भेग विशेषगरी डोटीका महिलाहरू चन्द्रमा पहिरन्छन् शिरमा । कहाँ पढिएको हो आज सम्झना छैन, तर नारायणहिटी दरबारमा काम गर्ने एक महिलाले भनेकी पनि थिइन्– ‘सुनको चन्द्रमा दिन्छु भनेका थिए महेन्द्रले, तर बितेकाले पाइएन ।’
विसं १९७८ मा दीर्घमान चित्रकारले खिचेको तस्बिरमा लावा उनिएको झुल ओढाइएको छ चन्द्रमासहितको मन्दिरलाई । धानको फूललाई लावा भन्छन्, धानबाटै धनधान्य आएको हो । तर, सबै ऋतुमा धानको फूल जम्मा गर्न सम्भव नहुने हुनाले भुटेर बनेको फूललाई पनि लावा भनिएको हो । सगुन बनाइएको हो । यो दृश्य फेरि रंगीन तस्बिरमा दोहोरिएको छ लगभग ५० वर्षपछि । नेटमा दुवै तस्बिर हेरे हुन्छ ।
लक्ष्मी समुद्र मन्थनमा उत्पन्न भइन्, जसलाई विष्णुले विवाह गरे– ब्रह्म बैवर्त पुराणले भन्यो, जो अधिकतम १२०० वर्ष मात्र पुरानो हो । यसर्थ पुराणसँग असन अन्नपूर्णको तुलना गरेर समयको निर्क्योल हुनै सक्दैन ।
तर, चोक हेरेपछि स्पष्ट संकेत पाइन्छ यता चपाभन्दा पुरानो युगको हो अन्नपूर्णको स्थापना भन्ने कुरा । यता चपा उत्तरका तीन मन्दिरहरू सोझै दक्षिणतर्फ फर्केका छन्, तर कैलाशतर्फ फर्केको अन्नपूर्णको सोझै एउटा पीठ ङतपाचो लाग्ने मोडैमा छ । यो तान्त्रिक तेर्सो रेखा हो भन्ने टड्कारो छ । अन्नपूर्ण थान यता चपाभन्दा नयाँ हुन्थ्यो भने त्यो कैलाश नफर्किएर सोझै दक्षिण फर्किन्थ्यो ।
यसर्थ अन्नपूर्णको जग लिच्छविकालभन्दा पनि सदियौंअघिको हुन सक्छ । तर, बिनावैज्ञानिक विश्लेषण यति बेला समयको निर्क्योल सम्भव छैन । यद्यपि विश्वका प्रख्यात पुरातत्त्वविद्हरूबीच अत्यन्त विवादास्पद डर्हाम विश्वविद्यालयका कुनै प्राध्यापकलाई भण्डारखाल र लुम्बिनी उत्खनन गराएजस्तो असन उत्खनन गराएर सत्यमा पुग्न सकिँदैन ।
लगभग साढे ४००० वर्षअघिकी मेसापोटामियन देवी इनान्ना यतैबाट लगिएकी अन्नपूर्णा हुन् भन्न सकिने आधारहरू छन् । तर, अहिले त्यो विषयान्तर हुनेछ ।
(एक विषयान्तर ः आदेश्वर मन्दिरको पश्चिमपट्टि कोही माथेमाले बनाएको भनिने एक पौवा छ । यसको बुर्जाको निधारको बीचोबीच थियो एक विशाल चन्द्रमा । झ्यालहरूका खापामा थिए– सुरथ, पान, चिड, इँट । बुझ्न सकिन्थ्यो ती भारदार फेदीमा घोडा बाँधेर उक्लिन्थे । पूजा हुँदै र सकिँदै गर्दा पौवामा गाँजा र तासको मनोरञ्जन चल्थ्यो । खानापछि दिवा निद्रा त्यसपछि हुक्कापान सकेर परिवार र अर्दलीहरूसहित घोडा चढेर ती घर लाग्थे । तर, त्यो चन्द्रमा देखाएर त्यहाँका एक हात लामो टुपीधारी एक युवा पण्डितले भने— मुसलमान राजाले बनाएको घर हो, त्यसैले छानामा चन्द्रमा छ । पुरातत्त्वलाई सायद यही हावा लाग्यो, आज ती चिड, इँटको खापा त छैन छैन, चन्द्रमा झनै छैन ।)

सराफी र असन
४५ वर्ष उमेरको काठमाडौंको रैथानेसम्मले पनि देखेको हुनुपर्छ— असन डबलीभरि सराफीहरू चाँदीका मोहर र डबलको चुलीचुली राखेर टनाटन बसेका हुन्थे उत्तर फर्किएर । यो तिनै अन्नपूर्ण अजिमालाई लक्ष्मी मानेरै छानिएको अखडा हो, अन्यथा डबलीहरू अन्यत्र पनि थिए । सराफी शब्द अरेबिक मूलको सुनबोधक असरफबाट बन्ने हो । यसको अगाडि नै चामल भरिएका मुख खुला भएका सयौं सयौं बोरा राखिएका हुन्थे । र, आज कमलाछी छिर्ने बेला देब्रेपट्टिको जुन तामाका भाँडाहरूको ठूलो पसल छ, त्यहाँ थियो भारु साट्ने काउन्टर नेपाल राष्ट्र बैंकको ।
असरफको अर्थ दिइनाको छुट्टै कारण छ किनभने असनबाट कमलाछी भएर जाने यो बाटो सोझिन्छ साँखुसम्म— जो सुन आयातको पारवहन नाका हो आदियुगीन तिब्बतदेखिको । उत्तरी भेगबाट सुनमिश्रित ढुंगाहरू साँखुको सुनटोलमा ल्याएर प्रशोधन गरेपछि भित्र्याउँथे व्यापारीहरूले असनमा । कमलाको अर्थ लक्ष्मी हो कमलाछीको, त्यस्तै साँखुको पुखुलाछीको पुखु शब्द आएको हो कमलको पर्यायवाची पुष्करबाट ।
उपेन्द्रमान मल्ल लेख्छन्— चाबेल पर्छ साँखु जाने मूल बाटोमा, जहाँबाट चौतारा र घुमथाङ भएर तिब्बत जाने महत्वपूर्ण व्यापारिक मार्ग हुन सक्छ । साँखुलाई नेवारीमा साँक्व भनिन्छ । यसको अर्थ हुन्छ तिब्बतको तल । किनभने नेवारीमा सँदेको अर्थ तिब्बत हो । (ज्योग्राफिकल जर्नल अफ नेपाल खण्ड एक, सन् १९७८) मल्ल आफ्नो समयका सुपरिचित भूगोलविद् हुन् ।
फेरि पनि कथित भोटाहिटीलाई टिपेर त्यो बाटो भोटसम्मको हुनुपर्छ भन्ने कल्पना उठ्न सक्छ । तर, कतै पढिएको, स्रोत भने बिर्सिसकिएको कुरा हो— ‘विजयपुरका राजा विधाताइन्द्र सेन रानीपोखरी उत्तरको गोलपाटीमा आइपुगेपछि जयप्रकाश मल्लले त्यहीँ पुगेर उनलाई स्वागत गर्दै हनुमानढोका भित्र्याए भोटाहिटीको बाटो ।’ यसले बुझाउँछ त्यो उत्तरतर्फको होइन, पूर्वतर्फको बाटो हो । पछिसम्म पूर्वका सिन्धुलीवासीहरूको अस्थायी अखडा हुने गर्थ्यो पनि काठमाडौंको डिल्लीबजार दायाँबायाँका घरहरू । खासगरी कोइरालाहरू बस्थे नै पद्मकन्या विद्याश्रम अहिले रहेको ठाउँको सामुन्नेको चोकभित्र । (युवराजको हैसियतले स्वागत गरे होलान्, यन्यथा सेन गद्दीच्युत भएको २० वर्षपछि मात्रै मल्ल गद्दीनसीन भए ।)
र, हात्तीको हौदामा विराजमान राणाहरूको सिन्दूरजात्रा गर्ने मार्ग पनि यही हो– भोटाहिटीबाट पसेर इन्द्रचोकअगाडिबाट वटु हुँदै गुच्चाटोल भएर टुँडिखेल निस्कने, जति बेला नयाँ सडक बनेको थिएन । अर्थात् असनले कम्तीमा यो २००० वर्षमा हजारौं शासकहरूलाई प्रत्यक्ष देखेको छ ।

कुलटोल कि कोलिग्राम ?
असनबाट इन्द्रचोक जाँदा बाटोमा पर्ने स्थानलाई भनिन्छ केलटोल । अनेक इतिहासज्ञहरूलाई पढ्दा धेरैले दक्षिण कोलिग्राम, जसमा हनुमानढोका क्षेत्र पर्छ भनिन्छ, बाट यति वरको केलटोल बनेको हो भनेको पाइन्छ । कतिलाई भने दक्षिण राजकुलबाट केलटोल बनेको हो भन्न मन लागेको पनि देखिन्छ । लगभग २५०० वर्षअघि कोसलको शासक विरुधकले दुई आश्रित राज्यहरू कपिलवस्तु र कोलियलाई ध्वस्त पारेपछि उपत्यका भागिआएका कोलियहरूको पुनर्वास क्षेत्र हो कोलिग्राम भन्नेतिर प्रायः सबैको मत एकोहोरिएको छ ।
त्यसै हो भने कपिलवस्तुवासी शाक्यहरू पनि त भागेर आए होलान् अनि तिनको थर शाक्यबाट उत्तर शाक्यग्राम र दक्षिण शाक्यग्रामचाहिँ किन नभएको ? शाक्य र कोलियहरू आखिर दुई मात्र सम्भ्रान्त र घनिष्ठ नाता रहेको विस्तृत परिवार थियो भन्ने प्रमाणित तथ्य त हो नै ।
तर, महत्त्वपूर्ण लक्ष्मी मन्दिर र विस्तृत न्याय परिसरको स्थापनाले बरु राजकुल वा लायकुटोल थियो भन्ने नै बुझाउँछ बौद्धमार्गी कोलियग्राम होइन । राजकीय संरक्षणप्राप्त मन्दिर र कार्यालयवरिपरि नै मानिसहरूको भीड हुन्छ, बजार बन्छ ।
‘दुई शताब्दी पुरानो बजार’ भन्ने आलेखमा लेखिएको छ, ‘सय वर्षअघिको काठको भाँडोमा आज पनि एक महिलाले ढिकेनुन अन्नपूर्ण थानअघि बेच्दै छिन् । उपत्यकामा सिँधे, बीरे, ढिके आदि नुन आउनुअघि किनबेच हुने भनेको भोटेनुन नै हो ।’ (त्यही नुनको भाँडो भएको ठाउँमा थियो वीरधारा) ।
तर, उनको सय वर्षको इतिहासलाई उछिन्ने कथित ६ पुस्तादेखिका जिरा–मरीच पसले–व्यापारीहरूको कथा पनि त्यति पुरानो लाग्दैन अन्नपूर्ण थानपछाडिका घेवारेहरूका अघि । भन्न खोजिएको मन्दिरपछाडिको घेवारेहरूको पसल सम्भवतः २००० वर्षभन्दा बढी पुराना होलान् । किनभने जब देवीथानको स्थापना भयो, बत्ती बाल्न चाहिने पहिलो वस्तु नै तेल–घ्यू हो ।
आधुनिक युग सुरु भएपछि आर्थिक गतिविधिलाई सञ्चारसाधनको चर्को आवश्यकता पर्ने नै भयो । उपलब्ध एक मात्र माध्यम थियो त्यो युगमा हुलाक । यही कारण हो, असनबाट इन्द्रचोक लाग्दाको दाहिने मोडको भित्तामा गाडिएको थियो पत्रमञ्जुषा, ठ्याम्मै त्यही ठाउँमा छ अहिले एउटा बैंकको एटीएम । त्यही प्वाइन्टमा कुनै न कुनै खोपा हुनैपर्ने के नियति रहेछ कुन्नि ?
र, भोटाहिटीको साझा भवनबाहिर थियो गोश्वारा हुलाक, भरियाहरूको ठूलो अखडा पनि ।

दक्षिणी प्रभाव
पत्रमञ्जुषा भएको घर छोडेर इन्द्रचोक लाग्दा दुई घरपछि नै दाहिने मोडमा थियो पानपसल । यो त्यसै त्यो स्थानमा बस्न पुगेकै थिएन । एक लेखक लेख्छन्, ‘पान लक्ष्मीसहित अन्य देवीदेवताको प्रिय वस्तु हो ।’ (पेज १२५, पत्रंपुष्पम्,  पुष्कलप्रसाद रेग्मी) । किनभने पान (पाइपर बिटल) नेपालको रैथाने होइन, बरु चाबो (पाइपर बिटलोइड्स) चाहिँ हो । विजयपुरको पानबारामा पहिलोपल्ट पान सेनहरूले लगाएका अनुमान गरिएको छ ।
तिब्बतबाट परिकल्पित ल्हाछेनको पूजामा इन्डियन प्रभावको थालनी थियो यो । तर, त्यतिमै सीमित थिएन त्यो । मानौं उपत्यकामा आयातित फलफूल पाइने एउटा यही ठाउँ थियो, जहाँ फलफूल भन्ने कुरा बिरामीका निम्ति मात्रै किन्न जान्थे मध्यमवर्गीयहरू, आफू स्वस्थले खानलाई चाहिँ होइन । नाम नलेखी हालौं, सम्भवतः यही पानपसलले दिएको थियो आफ्नो समयकी एक प्रसिद्ध गायिका र अर्की एक नाट्य अभिनेतृ नेपाली समाजलाई ।

ङा लोहँ
यसको अर्थ हो माछा ढुंगा वा माछाको मूर्ति, जो छ अन्नपूर्णको उत्तरपट्टि । आकाशबाट तोकिएको घडी र पलामा सोही ठाउँमा माछा झरेथ्यो आदियुगमा– ज्योतिषीय कथा छ । तर, आकाशबाट माछा झर्ने कुरा संसारभरिकै अनुभव र विज्ञानसिद्ध कुरा हो । सम्भवतः २००४ सालको ‘गोर्खापत्र’ मा छापिएको समाचारजस्तो पनि लाग्छ, जाउलाखेलवासीहरूले एकाबिहानै आकाशबाट झरेर माछाले चौर भरिएको देखे र सँगैको पोखरीमा हालिदिए ।
तर, यो माछा ज्योतिषीय कथाको पात्र मात्रै देखिँदैन स्थायी सगुनका रूपमा मन्दिर परिसरमा स्थापित मूर्ति हो भन्नेमा पुगिन्छ, चाँगु मन्दिरबाहिरको शंख र चक्रजस्तै । सम्भवतः दक्षिणतर्फ अर्को सगुनरूपी अण्डाको स्वरूप पनि थियो, डबलीले पुरिदियो वा खाइदियो ।
मेरी स्लसरले यसलाई मत्स्यावतार ठान्नु (काठमाण्डू शहर– जगदीशचन्द्र रेग्मी) रमाइलै लाग्छ । त्यसैले होला उनको नेपाल मण्डलालाई केपी मल्लले ‘लिमिट अफ सर्फेस आर्कियलजी’ भनेको (सिनास जर्नल) । मत्स्यावतार नै हो भने आइकनोग्राफीको कोणले यसको शिरोभागमा मानवआकृति हुनुपर्थ्यो ।

स्थान विभाजन
‘धोँचा’ को पसलअघिको गणेश मन्दिरवरिपरि सालको पात मात्रै पाइन्थ्यो । बीचको मन्दिरवरिपरि भाग्योदय चिठ्ठा, जनकल्याण चिठ्ठा र पछि सायद समाजकल्याण चिठ्ठाका स्टलहरू मात्रै थिए । पश्चिमको लक्ष्मीनारायण मन्दिरवरिपरि सिट्रस अर्थात् बिजुलायुक्त स्थानीय फलहरू मात्रै फिँजारिएका हुन्थे । यो विचित्रको स्थान विभाजन थियो एउटा गजबको विशेषता त्यो बेला ।
(क्षमायाचनासहित अर्को विषयान्तर ः भाग्योदय चिठ्ठा सम्भवतः नेपाल क्षयरोग निवारण संस्थाको अधिकतम रु. ४० हजार दिइने एउटा कार्यक्रम थियो । यही संस्थाले केन्द्रीय उर चिकित्सालय चलाउँथ्यो वीरको आजको इमर्जेन्सीको लाइनमा । जनकल्याण संस्था रामलाल श्रेष्ठद्वारा सञ्चालित बेवारिस शवहरूको अन्तिम संस्कार गरिदिने समाजसेवी अभियान थियो । आज त्यो अभिभारा लिएकी एक किशोरीको वाहवाही छ– तर, श्रेष्ठको नाम थाहा हुनेसमेत छैनन् । त्यसमाथि तिनको नामलाई तुलसीमेहर श्रेष्ठ र दयावीरसिंह कंसाकारको नामले खाइदिएको छ ।)

देवकोटाको 'जन्मघर' ?
भोटाहिटीसम्मलाई असनकै भाग मानिएको छ (काठमाण्डू शहर) । यसो लेखिएपछि भोटाहिटीमा रहेको एउटा सानो मन्दिरको सामुन्ने, दक्षिणको चोकभित्र पस्नुपर्छ । त्यहाँ शिवालय छ, त्यसलाई दाहिने पारेर ९०/१०० फिट दक्षिण लागेपछि एउटा घरको भित्ता र पर्खालबीच ३ फिट व्यासका दुई अग्ला न अग्ला ग्रीक शैलीका सेता खम्बाहरू देखाएर २० वर्ष जतिअघि भोटाहिटीवासीले भने— देवकोटाको जन्मघरको अवशेष हो यो ।
असनबाट महाबौद्ध (पुरानो जनजिब्रोमा मागुत/माभूत) लाग्दा को बीचोबीच मासँगल्लीमा पुरानो युगमा पहाडबाट काठमाडौं बसाइँ सर्ने देवकोटाहरूको बसोबास थियो भन्ने कुरा एक स्थापित सत्य हो । देवकोटाको जन्मघर भनिएको स्थान त्यसैको विस्तार हो पनि । तर, उनी जन्मँदै दरबारमा जन्मिएका थिए ? त्यो बेला उठेको प्रश्न आज पनि गुन्जिरहन्छ ? रहस्यमै छ यो । अहिलेलाई यत्ति नै ।

Page 10
कोसेली

मैले किन सहें ती सब ?

तराईमा उत्पातै गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । घरमा छँदा आधा जीउ नांगै हुन्थ्यो । कपडा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरु कपडै नलगाई उफ्रिरहेका हुन्थे ।
- मुना चौधरी

मलाई आकाशजस्तै छ्याङ्ङ खुल्न मन लागेको छ । धरतीजस्तो सहनशील होइन । समुद्रजस्तो गहिरो पनि होइन । मलाई खोलाजस्तो बग्न मन लागेको छ, ताकि म बाटो बनाउँदै सबै अप्ठ्यारा भत्काउँदै आफू बाँच्नुको अर्थ सार्थक बनाउन सकूँ । डराएर होइन, हवसका दृष्टिले हेर्ने आँखाहरूलाई थर्कमान बनाएर हिँड्न सकूँ । हिँड्न सकूँ त्यसरी, जसरी लालीमय बिहानीले कालो बादललाई सफा गरेर हिँड्छ ।

वैशाख १ को फूलबारी मेला हेर्न दिदी र भाउजूहरूसँग गएकी थिएँ । १२ वर्षकी थिएँ । एक समय मिडी पहिरन धेरै चलनचल्तीमा थियो । रातो बुट्टेदार मिडी लगाएकी थिएँ । खेतका फाँटहरू उजाड–उजाड थिए । यात्रुहरू खेतैखेत हिँडिरहेका थिएँ । हामी फूलबारीको गहबर (मूर्ति) दर्शन गरेर ढुनमुनि गाउँतिरको गहबरतिर जाँदै थियौँ । त्यहाँ पुग्न आधा घण्टा समय लाग्थ्यो । धूलाम्मे आली र खेत हुँदै हिँडिरहेका थियौँ । यात्रु धेरै थिए, पाइला टेक्ने ठाउँसम्म थिएन ।
गहबर नजिकै अग्लो आली थियो । आली हुँदै तीन जना केटा आइरहेका थिए । हामीहरू लहरै खेतको बाटो हिँडिरहेका थियौँ । एक जना केटो अचानक आलीबाट खेतमा हाम फाल्यो । र, उसले मेरो बायाँ स्तनमा औँलाले बेस्सरी घोच्यो ।
खेतमा ऊ अचानक उफ्रिँदा उसको जीउको सबै बल भर्खरै टुसाउँदै गरेको मेरो बायाँ स्तनमा पर्‍यो । मानौँ, कुनै दह्रो लठ्ठीले उसले निर्दयी तरिकाले घोच्यो । मलाई हड्डीमा घोचेजस्तै कष्ट भयो । मेरो सास अड्कियो । हलचल गर्न नसक्ने भएँ । जहाँको त्यहीँ ठिङ्ङ उभिएँ । दिदीहरूले के भयो भनेर सोध्नुभयो । केटोले मेरो छातीमा औँलाले आक्रमण गरेको दिदीहरूले देख्नुभएनछ ।
मेरो अनुहार रातो भएको थियो, कानबाट तातो निस्किरहेको थियो । केही भएको छैन भन्दै सकीनसकी हिँड्न थालेँ । केटोको अनुहारतिर पनि हेरिनँ । केटोले यति छिटो औंलाले घोचेको थियो कि कसैले केही देखेनन् । मैले मात्र पीडा अनुभव गरेँ । एक छिनपछि बल्ल होस आयो । तर, केही बोल्न सकिनँ । एक प्रकारको अप्ठ्यारो लाग्यो । सम्झन्छु, त्यो रगत झर्लाझैं रातो भएको कलिलो अनुहार मेरै थियो ।
अहिले सोच्छु, उतिबेला दिदीहरूलाई भन्न सकेको भए केही सहयोग पाउँथेँ कि ! दिदीहरूले त्यस केटोलाई रन्किने गरी थप्पड हान्नुहुन्थ्यो होला । र, म पनि आगामी दिनमा साहसी केटी बन्थेँ 
होला । अनि पटक–पटक मैले त्यस्ता समस्या सामना गर्नुपर्दैनथ्यो होला ।

तराईमा उत्पात गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । लुगा लगाउँदा घमौरा बिझ्थ्यो । घरमा हुँदा माथिल्लो जीउ नांगै बस्थेँ । कम्मरमुनि स्कर्ट मात्रै लगाएकी हुन्थेँ । लुगा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरू कपडै नलगाई उफ्रिरहेका हुन्थे । त्यतिबेला मेरो मस्तिष्कमा सोच आउँथ्यो, साथीहरू छाती ढाक्ने गरी समिज वा सर्ट लगाउँदैनन् भने मचाहिँ किन लगाउने ?
मेरो शरीरमा आइरहेको तीब्र परिवर्तन मलाई स्वीकार्य थिएन । म चाहन्नथेँ, मेरा स्तन पलाऊन् । म बस्न चाहन्नथेँ लुगाभित्रको ओढारमा । म पहिलेझैं नांगै जीउ फुक्काफाल भएर साथी समूहमा खेल्न चाहन्थेँ । म चाहन्थेँ, मेरो बाल्यकाल कहिल्यै मभन्दा टाढा नजाओस् । म किशोरावस्थाका परिवर्तन स्विकार्न कदापि तयार थिइनँ ।
तर, मेरो बाल्यकाल सधैँ मसँग रहेन । जति ठूली हुँदै थिएँ, उति नै आमा र दाइहरू यो नगर्, त्यो नगर्, यसरी नहिँड्, त्यसरी नबस् भनिरहनुहुन्थ्यो । समाजले खडा गरेका कुनै पनि नियम मान्न म तयार थिइनँ । खेतका फाँटहरूमा खुलेआम धानका बाला हावासित बयली खेलेसरि प्रकृतिको काखमा र आँपको रूखमा चढेर पुली डन्डा खेल्ने बानी परेको थियो । धूलाम्मे डगहरमा जीउभरि बालुवा घसेर चुंगी, गुच्चा, भाँडाकुटी खेल्दै हुर्केकी थिएँ । त्यसैले म कुनै नियममा बस्न चाहन्नथेँ । खुलेआम त्यसरी बस्न चाहन्थेँ, जसरी सानैदेखि निस्फिक्री बसेकी थिएँ । तर, शारीरिक परिवर्तनहरूले मेरो सीमारेखा तोकिरहेका थिए ।
अहिले सोच्छु, मेरो स्तनमा कुनै परचक्रीले औँलाले घोच्दा किन मौन बसेँ ? किन विरोध गर्न सकिनँ ? तत्कालै त्यो केटोको गाला रन्किने गरी किन थप्पड हान्न सकिनँ ? हामीलाई सधैं सिकाइयो, छोरी मान्छेले लाजलाई छोप्नुपर्छ । तर, हाम्रा संवेदनशील अंगमा कसैले नराम्रो नियतले हेर्‍यो वा स्पर्श गर्‍यो भने जहाँको त्यहीँ उसलाई लात हान्नुपर्छ भनेर किन सिकाइएन ? सहेर बस्नुहुँदैन, यस्तो कुरा अरूलाई सुनाउनुपर्छ र पिडकलाई सबक सिकाउनुपर्छ भन्ने किन सिकाइएन ?
१२ कक्षा पढ्दै थिएँ । लहान बजारको एक पसलमा जिन्स पाइन्ट किनेकी थिएँ । पाइन्ट धेरै फिटिङ थियो । हाम्रो घरमा छोरी, बुहारीलाई फिटिङ कपडा लगाउने अनुमति थिएन । बा र दाइहरू जहिल्यै खुकुलो कुर्ता–सुरुवाल सिलाइदिनुहुन्थ्यो । यति खुकुलो कि कुर्ताभित्र दुई जना अटे पनि अझै खुकुलै देखिन्थ्यो । टोलका केटी साथीहरू पनि  खुकुलै लुगा लगाउँथे ।
म बिहान क्याम्पस पढ्न र दिउँसो कम्प्युटर सिक्न जान्थेँ । एक दिन त्यही जिन्स पाइन्ट लगाएर कम्प्युटर सिक्न निस्किएँ । निस्किने बेला कुन्नि, बा कहाँ हुनुहुन्थ्यो देख्नुभएनछ । तर, उताबाट फर्केर आउँदा मैले लगाएको जिन्स बाले देख्नुभयो । रिसाउँदै भन्नुभयो, ‘यस्तो लुगा कसले लगाउन भन्यो हँ ? जीउमा टाँस्सिएको लुगा लगाउने अनुमति कसले दियो ? तेरो कर्तुत देखेर छिमेकीहरूले के सोचे होलान् ? किन किनिस् यस्तो लुगा ? कहाँ किनिस् ? कसले भन्यो किन्न ? लाज नामको चीज छ कि छैन तँसँग ?’
बाको गाली खाएर मैले शिर निहुराएँ । मानौं, नचाहिने काम गरेछु, ठूलै अपराध गरेछु ।
म एकान्तमा एक छिन रोइरहेँ । जतनसाथ जिन्स अलमारीमा राखेँ । त्यो जिन्स अब म कुनै अवस्थामा पनि लगाउन सक्दिनथेँ । लगाएँ भने बाको टोकसो सुन्नुपर्थ्यो । जिन्स पाइन्ट लगाउने रहर निकै थियो । तर, बाको अनुमतिबिना त्यो लगाउने फेरि साहस भएन । मैले आफ्ना सबै रहर मनभित्रै मारेँ ।
भोलिपल्ट क्याम्पस सकेर जिन्स पसलमा पाइन्ट फिर्ता गर्न गएँ । फिर्ता गरेर खुकुलो  कपडाको पाइन्ट लिएँ । पसलमा चेन्जिङ रुम थिएन । मैले चुनीदार सुरुवाल र कुर्ता लगाएकी थिएँ । पसलेलाई सोधेर स्टोर रुम गएँ । सुरुवालको माथिबाटै मैले पाइन्ट लगाएर ठीक भयो कि भएन भनेर जाँचेँ । पाइन्ट लगाउँदै गर्दा पसले स्टोर रुममा आयो । मलाई लाग्यो, सायद कुनै कपडा लिन आएको होला ।
मनजिक आउँदै उसले सोध्यो, ‘पाइन्ट ठीक भयो ?’ मैले उतिर हेर्दै नहेरी टाउको हल्लाउँदै जवाफ फर्काएँ, ‘एकदम ठीक भयो ।’ मेरा कुरा सुनेर ऊ मनजिक आयो । र, उसले मेरो पाइन्टको टाँक छाम्यो । कम्मरको टाँक छाम्दै अचानक एक सेकेन्डमै मेरो तल्लो पेटामा हात छिराउँदै बेस्सरी चिमोट्यो । चिमोटेर तुरुन्तै हात निकाल्यो र
पिठ्युँमा धाप मार्दै भन्यो, ‘यो पाइन्ट ठीक छ नि है ?’
उसलाई कसेर गालामा थप्पड हान्नुपर्ने ठाउँमा मैले उल्टै लाजले टाउको निहुराएँ । चिमोटेर हात निकाल्दै ऊ फेरि काउन्टरमा गएर बस्यो ।
डरले म रातीनीली भइसकेकी थिएँ । पूरै जीउ काँपिरहेको थियो । निधारभरि पसिना थियो । त्यो पाइन्ट हतपत फुकालेर, बटारेर म झोलामा हाल्दै कतै नहेरी डराउँदै पसलबाट निस्केँ । छेउछाउका मान्छेलाई पनि त्यो पसलेको कर्तुतबारे बताउन सकिनँ । हल्ला पनि गर्न सकिनँ । विरोध गर्नु त झन् परको कुरा थियो । हुँदाहुँदा क्याम्पस पढ्न जाँदा मैले त्यो बाटै हिँड्न छोडिदिएँ ।
त्यति नै बेला मैले त्यो पसलसँग किन प्रतिवाद गर्न सकिनँ ? म किन डराएँ ? त्यो कुरा बा–आमालाई किन भन्न सकिनँ ? त्यसपछि मलाई लाग्यो— बाले भनेको कुरा सही रहेछ । केटी मान्छेले खुकुलै कपडा लगाउनुपर्छ । यस्तै यस्तै अपराधी आँखाबाट मलाई जोगाउन बा र दाइले यसो भन्नुभएको हो । मैले त्यस दिनदेखि जिन्स लगाउन छाडेँ । लुकेर पनि कहिल्यै जिन्स लगाइनँ ।
अहिले सोच्छु— केटी मान्छेले फिटिङ लुगा लगाउनु हुँदैन भनेर सिकाउनु कहाँको न्याय थियो ? मन लागेका लुगा लगाउनुपर्छ । तर, लुगालाई लाञ्छना लगाउने र हवसका दृष्टिले हेर्ने घटिया आँखाहरूमा सकारात्मक सोचको पट्टी भिराउनुपर्छ भन्ने किन सिकाइएन ? संवेदनशील अंग छाम्ने हातहरूलाई प्रतिवाद गरि रोक्न सक्नुपर्छ भन्ने किन सिकाइएन ?
केटी मान्छेले खुकुला लुगा लगाउनुपर्छ र पुरुषअघि टाँस्सिएका लुगा लगाएर प्रस्तुत हुनु हुँदैन भन्ने कुरा केटीको हकमा मात्रै किन ? केटीहरूलाई अपराध र हवसका दृष्टिले हेर्नेहरूले नै सोच परिवर्तन गर्नुपर्छ भन्ने किन सिकाइएन ? स्वेच्छाचारी यौनिकता प्रकट गर्नेहरूमाथि तत्कालै दह्रोसँग जाइलाग्नुपर्छ भन्ने किन सिकाइएन ?
किन मैले ती सबै झेलेँ ? किन मौन बसिरहेँ ? किन सहें ती सब ?

पछि एमएड गर्न काठमाडौँ आएँ । पहिलो वर्षमा राम्रो अंक ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भएँ । दोस्रो वर्ष चल्दै थियो । दोस्रो वर्ष उत्तीर्ण भएपछि गाउँकै क्याम्पसले मलाई पढाउन बोलाएको थियो । धेरै खुसी थिएँ । पहिलो वर्षमा प्रथम श्रेणीमा उत्तीर्ण भएकीले दोस्रो वर्षमा पनि राम्रै अंक ल्याउँछु भन्ने आशा थियो । तर, दुःखको कुरा दोस्रो वर्ष ५० पूर्णांकको एउटा विषयमा म अनुत्तीर्ण भएँ । गाउँको क्याम्पसमा पढाउने मेरो इच्छा त्यत्तिकै रह्यो ।
क्याम्पसमा सँगै पढ्ने ६० वर्ष कटेको एक जना साथी थियो । उसले भन्यो, ‘रि–टोटलिङका लागि बल्खुमा निवेदन हाल, मेरो एक जना साथी छ । उसले क्याम्पस पढाउँछ । उसले तिमीलाई सहयोग गर्छ ।’ र, साथीको फोन नम्बर दियो । उसको साथीले मलाई कपनमा भेट्न बोलायो ।
भोलिपल्ट उसलाई भेट्न कपन गएँ । कपन चोकको सानो चियापसलमा हामी भेट्यौँ । मैले आफ्ना लागि कालो चिया मगाएँ । उसले आफ्ना लागि बियर मगायो । म चिया र ऊ बियर खाइरहेका थियौँ । बियर खाइसकेर उसले भन्यो, ‘हेर्नुस् म तपाईंलाई रि–टोटलिङ गराउने बेलामा अंक थपेर उत्तीर्ण गराइदिन्छु । तर, त्यसको बदलामा तपाईं मलाई के दिनुहुन्छ ?’
म उसको माग सुनेर ट्वाल्ल परेँ । म विद्यार्थी मान्छे, उसलाई के पो दिन सक्थेँ र ? न मसँग पैसा थियो, न सम्पत्ति । मैले सोचेँ, उसले पैसा माग्नेछ । त्यसो भए म रि–टोटलिङ गराउँदिनँ । पैसाले शैक्षिक योग्यता किन्दिनँ ।
मैले केही नबोल्दै उसले थप्यो, ‘भोलि १० बजेपछि मेरो घर आउनुस् । मेरा छोराछोरी स्कुल र श्रीमती अफिस गइहाल्छन् । एक छिनको त काम हो नि । त्यसपछि म तपाईंलाई नम्बर थपेर उत्तीर्ण गराइदिन्छु ।’
उसको कुरा सुनेर डरले र रिसले मेरो जीउ काँप्न थाल्यो । केही भनौं, बियर खाएको छ, यस्तो बेला के भन्नु ? ऊ होसमै छैन । त्यहाँ भएका मान्छेहरूलाई भनौं, उनीहरूले मेरो विश्वास गर्दैनन् सायद । किनकि त्यहाँका मान्छेहरूले उसले मसँग बोलेका संवाद सुनेका थिएनन् । म चुप लागेर टेबलबाट उठेँ । काउन्टरमा पैसा तिरेँ ।
चियापसलबाट निस्किँदै गर्दा त्यो मान्छेले सोध्यो, ‘के भयो ? किन केही नबोली हिँड्नुभो ?’
म केही नबोली सरासर कपन चोकमा यात्रु कुरिरहेको कपन–बंगलामुखी यातायात चढेर डेरा फर्किएँ ।
पहिले नै स्तन र तल्लो पेटमा अत्याचारीेका आक्रमण भोगेकी थिएँ । अब त सीधै शारीरिक सम्पर्कको प्रस्ताव आएको थियो । नचिनेको, कहिल्यै नदेखेको मान्छेले अनायास बिस्तारामा सुत्ने प्रस्ताव गरेको थियो । डेरा पुगेर धेरैबेर रोएँ । कसैलाई केही भन्न सकिनँ ।
रि–टोटलिङका लागि निवेदन हालेँ । तर, त्यो मान्छेसँग सहयोग मागिनँ । रि–टोटलिङको परिणाम जस्ताको त्यस्तै आयो । म अनुत्तीर्ण भएँ ।

मैले बोर्डिङ स्कुल पढाउन थालेँ । स्कुल पढाउँदै अनुत्तीर्ण भएको विषय दैनिक एक घण्टा बेलुकी पढ्न थालें । जति जति बेला पढ्न बस्थेँ, त्यो मान्छेको अनुहार आँखाभरि नाच्थ्यो । क्रोधित हुन्थेँ । क्रोधले झन् बेस्सरी पढ्ने जाँगर चल्थ्यो ।
म आफ्नो इज्जत बेचेर होइन, मिहिनेत गरेर उत्तीर्ण हुन चाहन्थेँ ।
वर्षैभरि त्यो विषय पढ्दा–पढ्दा कुन पेजमा कुन पाठ छ, सबै कण्ठस्थ भइसकेको थियो । अर्को वर्ष जाँच दिएँ । राम्रो अङ्क ल्याएर उत्तीर्ण भएँ ।
म सोच्छु, अहिले भए बिस्तारा बनाउन खोज्ने त्यस्ता मान्छेलाई पिउँदै गरेको तात्तातो चिया उनीहरूका अनुहारमा छ्यापिदिन्थेँ । हिंस्रकहरूको भयंकर प्रतिवाद गर्ने थिएँ ।
त्यति बेलै छ्यापेकी भए म दरिली हुने रहिछु । तर, त्यति बेला म के भएँ हँ ?
आज मेरो मन आकाशजस्तै छयाङ्ङ भएको छ । आफूलाई स्फूर्त अनुभव गरिरहेकी छु । मेरो गह्रौं मन हलुका भएको छ ।
मनको भारी बिसाउन पाएकोमा आफूलाई हिंसाका दृष्टिले हेर्ने मान्छेहरूलाई सजाय दिएझैँ भएको छ ।

कोसेली

सार्थक जीवनको उपासना

- निमग्ना घिमिरे


जीवन विसङ्गतिले भरिपूर्ण छ, पीडाले ग्रस्त छ, विभेद र सङ्कटहरूले घेरिएको छ, तर कविताको ध्यानस्थ मीठासले त्यसलाई शीतलता प्रदान गर्न सक्छ । यो विश्वास हो कवि नेत्र एटमको ‘प्रिय मौनता’ (२०७७) उपासना कविताहरूको सङ्ग्रहको । ६२ कविता सङ्गृहीत यी कवितामा जीवनलाई विविध कोणबाट पर्गेल्दै त्यसको गम्भीर उपासना गर्ने, मौन विमर्शमा लीन हुने र आनन्दको मार्गमा अघि बढ्ने लक्ष्य राखिएको छ ।
विषयवस्तुको प्रयोग तथा प्रस्तुतिका आधारमा ‘प्रणयको प्यासन’, ‘प्रमुदित प्रकृति’, ‘अभीप्साको उद्बोधन’, ‘स्मृतिको क्याराभान’ र ‘उपासनाको आलोक’ जस्ता उपशीर्षक दिई किताबलाई पाँच खण्डमा बाँडिएको छ । ‘प्रणयको प्यासन’ उपशीर्षक दिइएको यस सङ्ग्रहको पहिलो खण्डमा प्रेमको गहिरो लय समातेका उन्नाईस कविता छन् । किताबमा मानवीय प्रेमको गरिमा, महत्त्व, प्रेमी–प्रेमिकाको चाहना, एकअर्काप्रतिको समर्पण भाव, प्रेमको सुन्दरता तथा कोमलता, मानसिक आशङ्का अनि विछोडिनुपर्दाको कष्ट, पुनर्मिलनको आशा आदि पक्ष चित्रण गरिएको छ । कवि प्रेमको आसक्तिले हरेक क्षण रिक्त महसुस गर्छन् :

फेरि तिमीबिना
भरिँदाभरिँदै पनि किन
रहिरहन्छन् बाँकी नै बाँकी
असीम–असीम रिक्तताहरू...

‘प्रमुदित प्रकृति’ उपशीर्षकको दोस्रो खण्डअन्तर्गत पन्ध्र कविता समावेश छन् । यी कवितामा प्रकृतिको सुन्दरताको वर्णन र समय परिवर्तनसँगै देखा पर्ने ऋतुचक्रका साथै प्राकृतिक परिवर्तनले मानवलगायत प्राणीजगत्मा पार्ने पर्यावरणीय प्रभावको सूक्ष्म चित्रण गरिएको छ । कवि कतै बादलसँग वर्षाबारे संवाद गर्छन्, कतै चराहरू नै कविसँग उनकी प्रेयसीका खोजी गर्छन् । आफ्नो मात्रै स्वार्थ हेरेर प्रकृतिलाई उपयोग गर्दा प्राकृतिक सुन्दरता नष्ट हुँदै गएको, मान्छे स्वार्थी बन्दै गएको र त्यसले भविष्यमा सृष्टि नै सङ्कटमा पर्न सक्ने दृष्टिकोण पनि कविले प्रस्तुत गरेका छन् ।
प्रकृति र मान्छेबीच अन्योन्याश्रित सम्बन्ध हुने, प्रकृतिबिना मान्छेको अस्तित्व नरहने, प्रकृतिका विविध पक्षको संरक्षण, संवर्द्धनमा मान्छेको भूमिका रहने, तर आजको पुँजीवादी सोचका मान्छे चरम स्वार्थी बन्दै गएको र स्वार्थपूर्तिका लागि प्रकृतिको दोहन गर्नुका साथै उसले प्राकृतिक सुन्दरता नष्ट गर्दै गएको, तर प्रकृति निरन्तर ममताले भरिपूर्ण रहेको कविको चिन्तन यसमा पाइन्छ । पर्यावरणीय चेतना प्रभावकारी ढङ्गले अभिव्यञ्जित हुनु यसको विशेषता हो ।
‘अभीप्साको उद्बोधन’ उपशीर्षक दिइएको तेस्रो खण्डअन्तर्गत आलोचनात्मक चेतनाका जम्मा नौवटा कविता छन् । यिनमा मान्छेको स्वार्थीपन तथा अहम्का कारण मानवीय सम्बन्धमा तिक्तता बढेको र मान्छे–मान्छेबीच सिर्जना भएको विभेद चित्रण गर्दै न्यायपूर्ण र विभेदरहित समाजको परिकल्पनामा जोड दिइएको छ ।
कविले मिथक भइसकेकी भारतको केरलाकी दलित महिला नङ्गेलीको ऐतिहासिक प्रसङ्गमा एक कविता लेखेका छन् । नङ्गेलीले जातीय र लैङ्गिक विभेदमूलक सत्ताविरुद्ध आफ्नो स्तन काटेर गरेको बलिदानलाई विषय बनाएर वर्तमान समाजमा पनि व्याप्त जातीय विभेद, महिलामाथिका हिंसा, अन्याय र उत्पीडन सहेर नबस्न, त्यसको प्रतिरोध र विद्रोह गर्न पीडितलाई आह्वान गर्दै आफू पनि न्यायका पक्षमा दृढ रहेको सङ्केत गरेका छन् ।
‘स्मृतिको क्याराभान’ उपशीर्षक दिइएको चौथो खण्डअन्तर्गत सात कविता छन् । ती कवितामार्फत मार्मिक स्मृति र तिनले वर्तमानमा पारेको प्रभावलाई रोमान्टिक बनाइएको छ । कवि जन्मबारे आमासित प्रश्न गर्छन्, पिताको ‘जिन’ बाट प्राप्त अनुहारमा परिचयको आपत्ति जनाउँछन् र सिकाइ एवम् संज्ञानबाट भएका प्राप्तिलाई स्थापना गर्छन् । आफू हिँडेको प्रिय गोरेटोमा ‘अतीतको घनत्व’ पहिचान गर्नु उनका कविताको गाढा रङ हो ।
किताबको पाँचौँ तथा अन्तिम खण्ड ‘उपासनाको आलोक’ मा चिन्तनको गम्भीरता रहेका बाह्र कविता छन् । यिनमा नवीन बोध तथा ज्ञानद्वारा मानव समाजको अन्धकारको अन्त्य गर्ने, प्रशान्तिमा लीन हुने, मानवीय जीवनमा सकारात्मक परिवर्तन ल्याउने, सुन्दर योजना तथा राम्रा लक्ष्य लिएर अघि बढ्न सके परिलक्षित आकाश प्राप्त गर्न सकिने कविको जीवनवादी मान्यता तथा सकारात्मक सोच छ ।
बुद्धको विपश्यना ध्यानमा प्राप्त उज्यालोमा मौनताको उपासनाले स्निग्ध हुनु यी कविताको विशिष्टता हो, जहाँ पुगेपछि पाउन अरू बाँकी नरहने यात्राको बिसौनी परिकल्पित छ । साङ्केतिकताको विपुलताका कारण यी कविता जतिपटक पढ्यो, उतिपटक पृथक् अर्थ दिन समर्थ छन् ।
मिथकको सुन्दर संयोजन, विश्वप्रसिद्ध कविता एवम् कृतिगत सन्दर्भको युक्तिपूर्ण प्रयोग एवम् लालित्यपूर्ण भाषाको प्रवाह एटमका कविताका बलिया पक्ष हुन् । कविता पढ्दा पाठकमा समानुभूति सिर्जना हुन्छ र ऊ भावमा जति पनि डुबुल्की मार्न सक्छ ।
कविताको वास्तविक सौन्दर्य र स्वाद छन् यी कवितामा । उपासना कविताबारे कविको सैद्धान्तिक आधार एवम् डा. पुष्प दमाईले पुष्टि गरेको मौनताको सौन्दर्यशास्त्रबारेको नवीन अवधारणाले पनि ‘प्रिय मौनता’ लाई नेपाली कविताको इतिहासमा भिन्न, स्तरीय र गतिशील किताबको रूपमा स्थापित गर्ने पक्का छ ।

कोसेली

बिदेसिनेका नाममा

- राजेश विद्रोही

कवि सुष्मा रानाहँमाको कविता–किताब ‘आमाको तासफोटो’ मा आफ्नो समुदायले बगाएको आँसु, रगत र पसिनाले इतिहासमा उचित स्थान नपाएको जिकिर गरिएको छ । यी कविताको आँखिझ्यालबाट देखिने कविको अनुहार रहरलाग्दो र आशाप्रद छ ।
नेपाली समाज बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय छ, तर शासकका पक्षपाती दृष्टिका कारण लामो समयसम्म नेपाली कविताको अनुहारमा फरक बान्की र रूप देख्न सकिएन । सत्तासीनहरूले निर्माण गरेको एक भाषा, एक धर्म र एक संस्कृतिकै प्रभुत्व– वर्चस्व नेपाली कवितामा देखिइरह्यो । तर, पछिल्लो समय निजत्व र स्वत्व खोजी गर्दै नेपाली कवितामा जनजाति युवाकविहरूले एकात्मक सौन्दर्यको यो मानक भत्काउन थालेका छन् । उनीहरू नेपाली कवितामा सौन्दर्यको नयाँ र बेग्लै भूगोल अन्वेषण गर्न तल्लीन छन् । यसै लहरमा उभिन आइपुगेकी सुष्मा रानाहँमाले ‘आमाको तासफोटो’ मा प्रेममा मिलन– वियोगका भावसँगै नारीका पीडा, बिदेसिन बाध्य नेपाली नागरिकको विवशता र कोरोना–कहरको काव्यिक चित्रणसँगै जनजातीय संस्कृति–सभ्यतामाथिको आक्रमणप्रति विरोधका स्वर लेखेकी छन् । यी कवितामा जनजातीय सांस्कृतिक मिथक र ग्राम्य विम्बसँगै पूर्वी नेपालको पहाडी जीवनको सग्लो चित्र देखिन्छन् ।
‘सबाल्टर्न स्टडिज’ का प्रारम्भकर्ता रञ्जित गुहा इतिहासको पुनर्लेखन गरिनुपर्नेमा जोड दिन्छन् । हेपिएका समुदायहरू प्रभुत्वशाली समुदायका हतियार मात्र बनाइने निष्कर्ष निकाल्दै उनले इतिहासलाई पनि सम्भ्रान्तहरूले बङ्ग्याएको, उत्पीडित तथा तल्लो तहका मानिसको भूमिका इतिहासबाट गायब बनाइएको र इतिहास निर्माणमा खर्च भएका तिनका रगत–आँसुको उपेक्षा भएको चर्चा गरेका छन् । तिनै उत्पीडित र निर्धाहरूका भूमिका इतिहासमा पुनःस्थापित गरिनुपर्ने गुहाको मान्यता छ । सत्तासीन समुदायको दमन–अपहेलनाबाट किनारीकृत बनाइएको आफ्नो समुदायको योगदानलाई इतिहासले स्थान नदिएको आग्रह छ कविको ।
देश छाडेर बिदेसिनुको गहिरो पीडा उनका कवितामा छन् । जन्मभूमि, परिवार, आफन्तबाट टाढिएर दूरदेशमा एक्लो जीवन बिताउनुको पीडा यी कवितामा लेखिएका छन् । कवि आफैँ मातृभूमिबाट टाढा छिन् । लाग्छ, यी कवितामा कविले आफ्नै अनुभव–अनुभूति लेखेकी हुन् । सायद टाढिएपछि देश, आफन्तको माया झन् गाढा–गहिरो हुँदो हो ।
हरेक कवितामा जनजातीय संस्कृति टड्कारो बनेर आएको छ । जीवनका अनेक भाव व्यक्त गर्ने क्रममा उनले आफ्नै संस्कृतिको हात समातेकी छन् । यो उनको कविताको शक्ति हो । पछिल्लो पुस्ताका जनजातीय कविहरूले नेपाली कवितामा आफ्नै माटोको गन्ध, भूगोलको रङ र संस्कृतिको महक पोतेका छन् । सहरका अल्झन र जञ्जालहरूमा हराउन थालेको नेपाली कवितालाई उनीहरूले आफ्नै भूगोल, सभ्यता र संस्कृतिको नाभिमा पुर्‍याएका छन् । सुष्मा यसै लहरको अन्तिममा उभिन आइपुगेकी छन् ।
राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा उत्पीडनमा परेका समुदायका पीडा–वेदनालाई स्वर दिन यी कविता लेखिएका हुन् । वर्चस्वशाली समुदायको उत्पीडनमा परेका उत्पीडित र कमजोर वर्ग–समुदायका भोगाइ–अनुभूति निश्चय नै भिन्न छन् । तिनै वर्ग–समुदायका भोगाइलाई वाणी दिन प्रारम्भ गरिएको एउटा शक्तिशाली, सार्थक आन्दोलन ‘इतर आवाज’ की एक सक्रिय सदस्य सुष्माका कवितामा ‘इतर आवाज’ बलशाली बनेर आएको छ ।
आफ्नै मौलिक संस्कृतिको बलियो र उज्यालो धरातलमा उभिएर उनले सत्तासँग आँखा जुधाउँदै निर्भय प्रश्न गरेकी छन् । यो उनको मौलिक काव्यिक सामर्थ्य हो । कवितामा नारी स्वतन्त्रताको पक्षमा विद्रोही स्वर उरालेकी छन् । पितृसत्तात्मक सामाजिक मानसिकताबाट नारीमाथि हुने उत्पीडन–दमनको विरोधमा काव्यिक अभिव्यक्ति दिँदै उनले अब नारीहरूले अन्याय, अत्याचार सहनै नहुने भाव लेखेकी छन् ।
कविताको संसारमा नयाँ उज्यालो बोकेर आइपुगेकी यात्री हुन् सुष्मा, जो कविताको आफ्नै भाषा निर्माणमा जुटेकी छन् । यो यात्रा लामो तर, रोमाञ्चक अनि जटिल पनि हुन सक्छ ।

Page 11
कोसेली

प्वाल विम्ब र बेखबर योद्धाहरू

समाज–दृष्टिले खुट्याएको ‘जाबो एउटा प्वाल’ हुनु महिला भोगाइको सबैभन्दा संवेदनशील र चोटिलो पक्ष हो । पितृवादको नजरले महिलालाई प्वालभन्दा अरु देखेन/देख्दैन ।
तिनका प्रहारले सख्त घाइते छन् महिला । प्वाल–चिन्तनको सिकार हुनुपूर्व महिलाहरु लडाकु थिए, स्वतन्त्र थिए ।
- कुमारी लामा

प्वाल– महिला शरीरसँग जोडिने एक लिङ्गविभेदी विम्ब । यद्यपि त्यही सृष्टि प्वाल भई मानिस यस धर्ती टेक्छ । श्वास–प्वालबाट छाडिने अन्तिम निःश्वाससँगै उसको इहलीला समाप्त हुन्छ । यसबीच हरमानिस प्वालसँगको गहिरो नातामा रहन्छ । प्वालका अनेक आयाम छन् । चाहे ती भौतिक हुन् या लाक्षणिक, दुवै हाम्रै जीवन र विचार वरपर घुम्छन् । सांस्कृतिक मूल्य–मान्यताका अनगिन्ती प्वाल भई छिर्छ अनेक विचार या वाद, जसले नराम्ररी गाँजिदिन्छ हाम्रो मथिङ्गल । कुनै समय त्यसरी नै छिर्‍यो पितृवाद र सुरु भयो दमनपूर्ण समय । पितृतन्त्रको दोहन शृङ्खलामा धूलीमाटी भएका महिलाहरू अन्ततः प्वाल–विम्ब हुन पुगे ।

एक हूल अन्धा
उत्सुक छन्
आइमाईको स्वरूप थाहा पाउन
---------------------
अर्को
सृष्टिको अगम्य– स्थल योनिको
अर्द्ध–रहस्य थाहा पाएर
उफ्रिँदै चिच्याउँछ–
‘ए सुन सुन
आइमाई भनेको जाबो एउटा प्वाल रहिछ’

(वानीरा गिरि, ‘आइमाई’ (‘अन्धा र हात्ती’ को कथामा आधारित)
समाज–दृष्टिले खुट्याएको ‘जाबो एउटा प्वाल’ हुनु महिला भोगाइको सबभन्दा संवेदनशील र चोटिलो पक्ष हो । पितृवादको नजरले उनीहरूलाई प्वालभन्दा अरू देखेन/देख्दैन, जसको प्रहारले सख्त घाइते छन् महिलाहरू । प्वाल–चिन्तनको सिकार हुनुपूर्व महिलाहरू लडाकु थिए । उनीहरू स्वतन्त्र थिए । योद्धा थिए । त्यसैको एक चोइटा उछुट्टिएको थियो लेसियाको अभिव्यक्तिमा– ‘हामीलाई सहानुभूति होइन हतियार देऊ ।’
युक्रेनी मित्र लेसियाले आफ्नो फेसबुक स्टोरीमा लेखेका यी शब्दले म स्तब्ध रहेँ । रसियाले युद्ध छेडेको केही दिनमै उनको यस्तो धारणा आएको थियो । सायद उनी वाक्क थिइन् सबैका सहानुभूतिपूर्ण शब्दले । प्रत्येक दिन उनी ध्वस्त पारिँदै गरेको आफ्नो सहरको तस्बिर राख्छिन् । मसँगको एक संवादमा उनले भनेकी थिइन्, ‘हामीभित्र आक्रोश, पीडा र क्षतविक्षतपना छ । देशको माया त कति छ कति !’
युद्धमय छ युक्रेनी वसन्त । उनीहरू विरोधाभासपूर्ण युद्ध लड्न बाध्य छन्, आफ्नैसँग । कोभिड–१९ को कब्जाअघि नयाँ वर्षको एक जमघटमा लेसियासँग मध्यरातसम्मै धूवाँदार वादविवाद चलेको थियो । गफगाफको विषयान्तर हुँदै अन्ततः रसियाली नरनारीले जर्मनसँग लडेको गौरवपूर्ण इतिहासका केही पाटा खोतलिएका थिए । युक्रेनी समाजमा रहेका कतिपय कट्टरपना र अवकाशप्राप्त सेनाधिकृत बाबुको अनुशासन–घेराभन्दा टाढा रहन उनले विदेशको बाटो पहिल्याइन् । केही वर्ष चीनमा काम गरी नेपाल पसेकी लेसियाका निम्ति युद्ध केवल इतिहास थियो ः एक बेखबर क्षेत्र । उमेरले उति काँचो नभए पनि लहडेपना भारी थियो उनीभित्र । सामाजिक सरोकारहरूबाट विच्छेदित केवल आफ्नो स्वतन्त्रतालाई केन्द्रमा राख्ने युवती थिइन् उनी । तथापि आज उनको समय फरक छ । उनी वर्चस्ववादी छिमेकको बलमिच्याइँको परिणति भोगिरहेको देशको नागरिक ! कोमलताका सारा लेपनबाट मुक्त एक खरो युवती ! र, पितृवादको ‘प्वाल’ विम्बबाट टाढा एक लडाकु भएकी छन् उनी ।

विस्मृतिमा ती योद्धा
महिला लडाकु प्रजाति होइन भन्छन् कोही भने अलिकति कुवादृश्यबाट आँखा उठाए पुग्छ (अभिलेखनमा नपर्नु फरक विषय हो) । हुन त वीरता, साहस र जितको वकालत गर्ने युद्ध केवल पुरुष क्षेत्र मानिन्छ । तर, महिलाहरूले पनि कैयौँ युद्ध लडेका थिए । ज्यान दिएका थिए उनीहरूले आफ्नो जन्मभूमिको रक्षार्थ । बगाएका थिए रगत । तथापि देशभक्ति र वीरगाथाबाट उनीहरू सधैँ विमुख भइरहे । युद्धको ग्लोरिफिकेसनमा महिला सधैँ बेवास्ताले डामिए । त्यसकारण लिङ्गपिभेदी छ युद्ध इतिहास । दोस्रो विश्वयुद्धमा हिट्लरको जर्मन फौजविरुद्ध वीरतापूर्वक मैदानमा उत्रिएका लाखौं रसियन महिलाको इतिहास गुमनामप्रायः छ । नोबल पुरस्कारबाट सम्मानित बेलारुसियन लेखक स्वेटलाना एलेक्सेइभिचको पुस्तक ‘द अनउमनली फेस अब वार’ भने एक गतिलो दस्तावेज बनेको छ ।
प्रत्येक युद्धसँग प्रत्यक्ष–परोक्ष रूपमा जोडिने महिलाका भोगाइ ज्यादै चोटिलो छ । तर, उनीहरू इतिहासका पानाबाट बेदख्खल छन् । सुस्यान आस्मानले उल्लेख गरेको ‘पोलिटिक्स अब मेमोरी’ जहीँतहीँ लागू हुन्छ । चाहेको कुरा सम्झनु र अन्यमा मौन रहनु हो सम्झनाको राजनीति । पितृसत्तात्मक मनोविज्ञानले महिलालाई भोगको क्षेत्र या सुन्दरताका अनेक उपमा भन्दा पर देख्दैन । उनीहरूका योगदानले खास अर्थ राख्दैनन्, तब किन कसैले सम्झिरहने झन्झट गरोस् । स्वेटलाना विस्मृतिको गर्तमा थन्क्याइएको युद्ध इतिहास खोतल्छिन् । चौथो इसापूर्वमा ग्रिकको एथेन्स र स्पार्टाको सैनिक भई महिलाहरू लडेका थिए । उनीहरूले एलेक्जेन्डर द ग्रेटको क्याम्पियनमा पनि भाग लिएका देखिन्छ । स्लाभिक महिलाहरू आफ्ना बाउ र लोग्नेहरूका साथ लागेर युद्ध लडेका प्रमाण भेटिएको दाबी गर्छन् रसियन इतिहासकार निकोलाई कारामजिन । इस्वी संवत् ६२६ मा कन्सट्यानटिनोपल हात पार्दा ग्रिकहरूले बग्रेल्ती स्लाब महिलाहरूको लास भेटेका रहेछन् । यसले युद्धमा महिला सामेल भएको प्रमाणित गर्छ ।
स्वेटलानाका अनुसार, आधुनिककालमा इङ्ग्ल्यान्डले पहिलो पटक सन् १५६० देखि नै अस्पतालहरूमा महिला सैनिकलाई खटाएका थिए । पहिलो विश्वयुद्धमा भने बेलायतले रोयल एयर फोर्समै महिलाहरू लिन थाले । रसिया, जर्मनी र फ्रान्समा पनि धेरै महिलाले सैनिक अस्पताल, एम्बुलेन्स र ट्रेनहरूमा काम गरेका थिए । दोस्रो विश्वयुद्धमा महिला सैनिकहरूले अस्पतालमा मात्र नभई युद्धमैदानको अग्रपङ्क्तिमै रहेर साहसपूर्वक लडेका थिए । युरोप र अमेरिकाको भन्दा दोब्बर, दसौं लाखको संख्यामा थिए रसियाली सेनामा महिला । महिला यौनिकतासँग जोडिएका सम्पूर्ण भ्रमलाई चिरेर रसियन महिलाले जर्मन सेनाविरुद्ध लडाइँ लडे । युद्धका जहाज उडाए, सार्प सुटर भए, मेसिन गनर, ट्याङ्क ड्राइभरदेखि, प्लाटुन सम्हाल्ने काम गरे । युद्ध मैदानको पहिलो पङ्क्तिमा उभिएर छातीमा गोली थापे देशका लागि । स्वेटलाना उप्काउँछिन् मारिया मोरोजोभाको युद्ध–समय, जो एक करपोरल स्नाइपर (सुटर) थिइन् ।
टाढा कतै लुकेर शत्रुमाथि निसाना लगाउनु थियो उनको काम । छलेर मार्नु थियो मानिस उनले । महिलाले यस्तो काम गर्न सक्छन् ? टाउको रन्थनिन्छ । सक्छन् । युद्धमा धेरै विषय सामान्य मानिन्छन् । उनी युद्धमैदानमा उत्रिने बेलासम्म उनको गाउँमा कुनै केटै बाँकी थिएन । उनका बुबा पनि लडाइँमै थिए । उनी अठार पनि पुगेकी थिइनन्, जब युद्ध सुरु भयो । र, एक दिन कोमसोमोल (कम्युनिस्ट युवा लिग) बाट उर्दी आयो, मातृभूमिको रक्षार्थ लड्न । त्यसबखत मस्को जर्मनले लिने खतरा बढिसकेको थियो । हिट्लरको फौज मस्को नजिक पुग्न लागेको थियो । उनी आफ्ना कलिला साथीहरूसँगै युद्धमा जान तयार भइन् । युद्ध मैदानको अग्रपङ्क्तिमा उत्रिएको केही समयपछि नै उनी खतरनाक निसानाबाज बनिन् । उनले धमाधम शत्रुलाई आफ्नो निसानामा पारिन् । युद्धविराम हुने बेलासम्म उनले निसाना लागाएकाहरूको संख्या पचहत्तर पुगिसकेको थियो ।
बाफ रे ! कल्पनाभन्दा पर छ उन्नाइस वर्षकी युवतीको अनुभव । तथापि युद्धकालमा सबै सम्भव हुने रहेछ । आफ्नै देशतिर फर्कौं अब । दसवर्षे ‘जनयुद्ध’ मा सामेल एक योद्धा हुन्– टोटला तामाङ (नाम परिवर्तन गरिएको) । काभ्रेकी टोटला तामाङ तेह्र वर्ष मात्रै टेक्दै थिइन्, जब उनी भूमिगत भइन् । देशमा दिनानुदिन दन्किँदै गरेको सशस्त्र द्वन्द्वको चपेटामा नमोबुद्धलगायत काभ्रेका अन्य क्षेत्र विमुख रहने कुरै भएन । दिनमा आउने सेना र रातमा आउने लालसेनाको दोहोरो मारमा परेका गामवासीको जीवन मुस्किलको भूमरिमा पर्‍यो । समयसमयमा हुने सेनाको धरपकड, ज्यादती र आँखैअघि सुराकीका नाममा छिमेककै दिदीलाई टिपी लगेका घटनापछि त्यस गाउँका धेरै किशोर–किशोरी भूमिगत भए । त्यस निर्णयको पछाडि बेलाबखत जङ्गलबाट गाउँ छिरी विभेदपूर्ण निरङ्कुश शासन व्यवस्थाविरुद्ध गरिने भाषण र समानतामा आधारित न्यायपूर्ण समाज निर्माणको पक्षमा लाग्न गरिने आह्वानले निकै ठूलो भूमिका खेलेको थियो । भूमिगत अवस्थामा उनी पार्टीले खटाएका विभिन्न कामका लागि काभ्रे, मकवानपुर, दोलखा, ललितपुरतिर आउजाउ गर्थिन् । त्यसबीच उनले हतियार चलाउनेदेखि युद्धसम्बन्धी अनेक प्रशिक्षण पाइन् । उनको कलिलो दिमागमा युद्धको उच्छवास छचल्किन्थ्यो । समाज परिवर्तनका लागि मर्न–मार्न केहीजस्तो नलाग्ने भयो । उनी २०६१ साल असोज अघिसम्म जम्मा ६ वटा लडाइँमा सामेल भइन् । मकवानपुरको झुरझुरे, काभ्रेको पनौती, सिन्धुपाल्चोकको ठोकर्पा, चौतारालगायतमा भएका लडाइँमा उनी थिइन् । युद्धमैदानको रक्तमुछेल समय, मृत्युका अनेक रूप छायासरी आफैंसँग हिँडिरहने समयमा केवल उत्पीडनमा परेका जनताको मुक्तिको अभिलासा थियो । डर, त्रास, भय मनमा खेल्ने समय नै थिएन ।
मारियाको निसानामा पचहत्तर जना परे, अनि टोटलाको नि ?
भन्छिन्, ‘युद्धमा कति मारियो या घाइते पारियो भनेर गनी बस्ने समय कहाँ हुन्छ !’

माथि उल्लिखित पात्रहरू देशरक्षाका निम्ति या न्यायपूर्ण समाजका लागि लडेका आम महिला हुन् । आज त्यसै लहरमा सामेल हुने तरखरमा छिन् लेसिया । यदि समयमै रसिया र युक्रेनबीच युद्धविराम भएन भने उनी पनि देशरक्षाका लागि सेनासरह हतियार बोकी मैदानमा उत्रनेछिन् ।
युद्धमा सामेल महिलाका विषय उठाउँदा आम महिला मात्र नभई दरबारका महारानीहरूको पनि सम्झना गर्न आवश्यक छ । उनीहरू भौतिक युद्धमा मात्र नभई षड्यन्त्रकारी युद्धमा पनि उत्तिकै सामेल हुन्थे । नेपालका धेरै महारानीले बालकराजाको संरक्षक भई देशको वागडोर सम्हाल्नेदेखि दरबारभित्र सधैँ चलिरहने षड्यन्त्रसँग डटेर सामना गरेका थिए । तर, प्रायः रानीहरू दरबारिया भाइभारदारको शक्तिलिप्साको गोटी बनेका पाइन्छन् । आवश्यकतामा प्रयोग गरी काम तमाम भएपछि उनीहरूलाई निर्वासनमा लखेटिएका घटना प्रशस्त छन् । आफ्नै पति र भारदारबाटै रानीहरू षड्यन्त्रको सिकार हुन्थे । बेलायतकी रानी एनी बुलेनले सन् १५३६ मा आफ्नै प्यारा पति राजा हेनरी आठौँबाट मृत्युदण्ड पाएकी थिइन् । शक्तिको दुरुपयोगले निम्त्याएका जघन्य अपराधहरूमा बरम्बार महिला दपेटिएका छन् ः चाहे ती रानी हुन् या आम महिला । नेपालमा पनि कतिपय महारानीलाई सिध्याउने अनेक चालबाजी र दमनपूर्ण परिघटना भएका छन् । हेलम्बुतिर खाली खुट्टै लखेटिएकी महारानी राजराजेश्वरीलाई राजा रणबहादुरको मृत्युपश्चात् काठमाडौँ बोलाएर बाटैमा जलाइएको थियो, सती बनाएर (इतिहासकार बाबुराम आचार्य) । कूटनीतिक र साहसी महारानी राजराजेश्वरी भाइभारदारको झेलमा परेर पोलिएकी थिइन् । जगजाहेरै छ, सतीप्रथा पितृसत्तावादकै एक दमनकारी व्यवस्था थियो । हतियारसहितको युद्ध मात्र नभई संस्कारगत युद्धहरू लड्दै अघि बढेका महिला विजयी झन्डा फहराउन नपाउँदै पितृसत्ताको भासमा परिरहेका छन् ।
फेरि एक पटक स्वेटलानाले उप्काएको युद्ध इतिहास नियालौं– जर्मनबाट आफ्नो देश जोगाउन ६ वर्षे युद्धकालमा रसियन महिलाहरूले दिएको योगदान युद्ध सकिएसँगै ओझेलियो । सकियो उनीहरूको साहसको कथा । कसैले लिनै चाहेनन् उनीहरूका नाम । अझ दुःखलाग्दो त के भने युद्धमैदानमा उनीहरूका साहसको बखान गरी नथाक्ने पुरुष सहकर्मीहरूले युद्धपश्चात् उनीहरूतिर तिरस्कारपूर्ण नजर हुत्याउन थाले । वीरतापूर्वक लडेका ती महिला समाजको नजरमा अनेक पुरुषको संसर्गमा बसेकी बेकम्मा र बाइफाले आइमाईमा कायान्तरित भए । फेरि एक पटक नराम्ररी पितृसत्ता जुर्मुरायो र हमला गर्‍यो उनीहरूको अस्तित्वमाथि । पितृवादले निर्माण गरेको असल र इज्जतदार महिला छवि अघिल्तिर उनीहरूको राष्ट्रसेवा र बलिदानी केवल एक दागमा परिणत भयो । पुनः उनीहरू ‘प्वाल’ मा परिणत भए ।
अब तपाईंहरू नै छिनोफानो गर्नुस्, के राजराजेश्वरी, मारिया, लेसिया र टोटला केवल प्वाल–विम्ब हुन् ?

कोसेली

अवरोधको सहर, अवरोधको कहर

फुटपाथ कसको सम्पत्ति हो ? पैदलयात्रीको । तर, त्यस्तै भइरहेको छ त ? फुटपाथ केवल निर्माण सामग्री सित्तैमा थुपार्न पाइने अस्थायी स्टोर र पसल विस्तार गर्ने अतिरिक्त स्थान बनेको छ ।
- मिलन बगाले

सहर भन्नु आफैंमा एउटा रहर हो । प्रविधि, अर्थतन्त्र र वास्तुकलाको विकासको उन्नत स्वरूपको छाप हरेक योजनाबद्ध सहरमा देखिन्छन् । कहिलेकाहीं कहर थुप्रिँदै थुप्रिँदै र तन्किँदै तन्किँदै गएर पनि त्यसले सहरको रूप लिन्छ । कालान्तरमा कहर चिर्दै चिर्दै एउटा भद्दा बस्तीलाई सुन्दर स्वरूप दिइन्छ । ठूल्ठूला घर, हरिया पार्क, फराकिला बाटा, जतासुकै झिलिमिली, अनेकथरी अवसर, पसल र अनेक रामरमिता । अरू केके चाहिन्छ एउटा राम्रो सहर बन्न ? कसैलाई कतै पनि ठेस नलाग्ने सहर अहिलेको साझा रहर हो । बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अपांगता नभएका व्यक्ति सबै निर्बाध रूपमा हिँड्न सक्ने सहर । अँध्यारो र उज्यालो दुवैमा निर्धक्क हिँड्न सकिने सहर । सरर साइकल कुदाउन सकिने सहर । सजिलै बाटो काट्न सकिने सहर । सार्वजनिक सवारी सम्झँदै आनन्द लाग्ने सहर । ह्विलचियरका पाङ्ग्रा कतै नअल्झिने सहर । दृष्टिविहीनलाई कतै उल्झन बेहोर्नु नपर्ने सहर । तर, हाम्रो वास्तविकता उल्टो छ । एक पैदलयात्रुका रूपमा काठमाडौंका बाटाघाटामा दैनिक सरदर १०–१२ किलोमिटरजति हिँड्दा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका आदिका लागि काठमाडौंका सडक र भवन संरचना धरापै धराप बनेको देखिरहेछु ।

ट्याकटाइल टायल पछ्याउँदै खाल्डोतिर...
करिब ५ महिनाअघि आर्किटेक्ट सुवास अधिकारीले ट्याकटाइल टायल हाल्ने नेपाली ढंगको दारुण चित्रको लामै लहरो सामाजिक सञ्जाल ट्वीटरमा पस्किदिए । दृष्टिविहीनलाई हिँड्न सजिलो होस् भनेर फुटपाथमा ट्याकटाइल टायल लगाईन्छ । यो सामान्यतया १ फिट चौडाइ र १ फिट लम्बाइको हुन्छ । ट्याकटाइल टायल दुई किसिमका हुन्छन् । एउटा धर्के टायल, जसलाई गाइडिङ ब्लक पनि भनिन्छ । अर्को थोप्ले टायल, जसलाई वार्निङ टायल पनि भनिन्छ । लामालामा धर्का भएको गाइडिङ टायलमा जुत्ताले महसुस गर्न सक्नेगरी उठेका धर्साहरू हुन्छन् । सेतो छडीको तल्लो भागको सहायताले यो टायल पछ्याउँदै दृष्टिविहीनहरू सजिलै हिँड्न सक्छन् । बाटाको दिशा परिवर्तन हुने वा टुंगिने ठाउँमा गोलो थोप्ले टायलहरू लगाइएको हुन्छ । तर, ट्याकटाइल टायल लगाउने हाम्रो ढंग मिलेको छ ? सामान्य टायल सोचेर लगाइएको छ या यसको मर्म बुझेरै लगाइएको छ ?
काठमाडौंको फुटपाथमा हिँड्दा यसलाई मसिनोसँग नियाल्नुभयो भने असाध्यै खराब अवस्था देखिन्छ । पहिलो त ट्याकटायल टायल काठमाडौंका फुटपाथमा थोरै ठाउँमा मात्र लगाइएको छ । लगाइएको ठाउँको दशा देखिनसक्नु छ । फुटपाथमा मोटरसाइकल कुदाउँदा यो टायल धूलोपिठो भएको छ । यसको नियमित मर्मतसम्भार पनि हुन सकेको छैन । ट्याकटाइल टायल पछ्याउँदै जाने हो भने कि त खाल्डामा पुगिन्छ कि बिजुलीको पोलमा टाउको ठोकिन्छ कि त ह्वाङ्ङ परेको वा ढिस्को बनेको मंगालमा खुट्टा ठोकिन्छ । केही महिनाअघि मात्रै पुतलीसडकको फुटपाथमा ट्याकटाइल टायल लगाइएको थियो । अहिले त्यहाँ जानुभो भने बाँदरले मकै कोपरेर फालेजस्तै दृश्य देखिन्छ । ठाउँठाउँमा टायल उखेलेर फालिएको छ । पुरानो बसपार्क–शंकरदेव क्याम्पस जोड्ने बागबजारको बाटोमा ट्याकटाइल टायल लगाइएको ठाउँमा बीचबीचमा बिजुलीका पोल छन् । त्यहाँ ट्याकटाइल टायल पछ्याउँदै हिँड्ने हो भने त्यसले ठूलै दुर्घटना निम्त्याउँछ । ड्याम्मै टाउको ठोकिन्छ । यस्तो काम कसले र किन गर्छ ? कसले ठीक छ भनेर पास गर्छ ?
अजंगको खाल्डामा, ढिस्कामा, बिजुलीको पोलमा, फोहोरको थुप्रोअघि किन टुंगिन्छ ट्याकटाइल टायलको लहर ? महानगरपालिका र सहरी विकास मन्त्रालयलाई मात्र होइन, आफैंलाई पनि प्रश्न गरौं । निर्माण सामग्री टाँसेर, घोलेर, जमाएर वा उभ्याएर मात्रै सच्चा पूर्वाधार बन्दैन । त्यो त अवरोध, ढिस्को वा मृत्युमार्ग बन्छ । राजधानीका फुट्पाथमा ओछ्याइएका ट्याकटाइल टायलले दुर्गतिको त्यही कथा भनिरहेछ ।

फुटपाथ कि अस्थायी स्टोर ?
फुटपाथ कसको सम्पत्ति हो ? पैदलयात्रीको । तर, त्यस्तै भइरहेको छ ? यो त निर्माण सामग्री सित्तैमा थुपार्न पाइने अस्थायी स्टोर र सित्तैमा पसल विस्तार गर्ने अतिरिक्त ठाउँ बनेको छ । मन्त्रीले छापा मारेर या एक–दुई पटक डोजर लगेर सामान उठाउँदैमा यो समस्याको समाधान हुन सक्दैन । कताकता मात्रै छापा मार्नु ? सिंगो काठमाडौंलाई डोजरले जुरुक्क उठाउन मिल्दैन । हिँड्दाहिँड्दै फुटपाथ गायब भएका उदाहरण त कति हो कति ! सिंहदरबार परिसरकै उत्तर—पश्चिमी कुनोमा न्युप्लाजाबाट अनामनगर जाँदा फुटपाथ गायब छ । त्यो कुनोमा पैदलयात्रीले निकै सकस भोग्नुपरेको छ । साँघुरो फुटपाथमा बाटै छोपेर तारको पिँजडामा ससाना रूख रोप्ने र लैनचौरमा प्लास्टिकको दुबो बिछ्याउने प्रवृत्तिप्रति व्यंग्य गर्दै पत्रकार नारायण वाग्लेले ट्वीटरमा लेखेका छन्— ‘हरियो हुँदैमा प्लास्टिकले अक्सिजन फाल्दैन मेयरसाप ।’

बाटोभरि कारैकार, फुटपाथमा तारैतार
काठमाडौं उपत्यका सानो छ । गतिलो हिँड्ने बाटो र सुरक्षित साइकल लेन भइदिए सडकभरि कार र्‍याली देख्नैपर्ने थिएन । मूलबाटोभरि कारैकार कुदिरहँदा फुटपाथमा अलपत्र फालिएको तारको गुजुल्टाले थप सकस दिइरहेको छ । तारलाई भूमिगत गर्ने वा पुरानो तार हटाउने काम खुबै चलिरहेको देखिन्छ । तर, यो कामको ‘फिनिसिङ’ पनि असाध्यै लाजमर्दो छ । हटाइएका तार त्यसै गुजुल्टो पारेर फुटपाथमा छोडिदिँदा राजधानीको फुटपाथमा हिँडिरहेको छु कि चारकोसे झाँडीमा ढ्ड्डी पन्छाउँदै हिँडिरहेको छु, ठम्याउनै मुस्किल पर्छ । पैदलयात्रुलाई सताउन आजकाल विद्युत् प्राधिकरणले नयाँ कुरो थपिदिएको छ । हिँड्नै नमिल्ने गरी विद्युत् प्राधिकरणले धेरै ठाउँका फुटपाथमा ‘डिस्ट्रिब्युसन फिडर पिलर’ राखिदिएको छ । विद्युत् प्राधिकरणको यो ज्यादती निन्दनीय छ । गाउँघरमा ‘किन लखरलखर हिँड्छस्’ ? भनेर गाली गर्ने प्रचलन छ । हिँड्ने मान्छेलाई काम नपाएको, बेरोजगार भएको, लम्फु भएको आदि अनेक उपमा दिने चलन छ । विद्युत् प्राधिकरणले पनि हिँड्ने मान्छेलाई त्यस्तै बेकामे सोचेछ कि ?

जेब्राक्रस कि ढिस्कोक्रस ?
माइतीघर—कोटेश्वर जोड्ने फराकिलो बाटोका जेब्राक्रसहरू कस्ता छन् याद गर्नुभएको छ ? जेब्राक्रसबाट वारपार गर्न करिब ९ इन्चजति अग्लो ढिस्को क्रस गर्नुपर्छ । मोटरसाइकल वा गाडी बीचबीचबाट बटारिएर फुत्त नभागून् भनेर जेब्राक्रसमै ढिस्को हालिएको हो भन्ने तर्क आउला । तर, त्यो सम्भावित तर्क आपत्तिजनक छ । कोही बटारिएर जथाभावी हिँड्छ भन्दैमा जेब्राक्रसमा ढिस्को हाल्ने ? त्यो ढिस्कोमा दृष्टिविहीन व्यक्तिले कसरी हिँड्ने ? बीच बाटामा पुगेपछि ढिस्कामा ढ्याक्क ठोकिने ? ह्वीलचियर प्रयोगकर्ताले कसरी बाटो काट्ने ? त्यसले कसलाई सजिलो बनाउँछ ? यस्तै दुर्दशा रिङरोडको कलंकी—कोटेश्वर खण्डमा पनि देखिएको छ । रिङरोडको यो खण्ड चर्चा गर्नलायक पनि छैन । त्यो त विशुद्ध अलकत्रे चौर मात्र बनेको छ ।
अब जेब्राक्रसको अर्को पाटाको कुरा गरौं । आँखाले प्रस्ट देख्न सक्ने व्यक्तिका लागि मात्रै जेब्राक्रस बनाइएको छ । जेब्राक्रस भएको ठाउँ आइपुग्यो भनेर थाहा दिने आवाज वा केही संकेत लगाइएको छैन । ट्याकटाइल टायल पछ्याउँदै हिँड्दा जेब्राक्रस भएको ठाउँतिर पुगेपछि त्यो क्रम टुटिहाल्छ । नेपालमा उपलब्ध ट्याकटाइल टायल गाडी त के, मोटरसाइकलले कुल्चिँदा पनि फुटिहाल्ने खालको छ । त्यो टायलको विकल्पमा अर्थोक केही सोच्न सकिन्थ्यो । जेब्राक्रसमा रङ पोत्नुभन्दा पहिल्यै ठाउँ पहिचान गरेर बलियोसँग मसिनो चिप्स, गिटी हालेर जेब्राक्रसको भुइँ सतह खस्रो बनाउन नसकिने हो र ? ट्याकटायल टायल पछ्याउँदै हिँड्दा अब जेब्राक्रस आइपुग्यो, खस्रो सतह पछ्याउँदै बाटो काट्नुहोस् भनेर सन्देश बज्ने र ब्रेलमा छामेर पनि पढ्न मिल्नेगरी डिजाइन बनाउन नसकिने हो र ?
 सार्वजनिक पूर्वाधार सबैका साझा सम्पत्ति हुन् । सहरमा प्रयोगकर्ताको विविधता असाध्यै फराकिलो छ । यति ख्याल गरियो भने कागज र पेन्सिल लिएर बस्दा मनमा अपांगता नभएका वयस्क व्यक्तिबाहेक ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिलगायत सबै लस्करै आइपुग्छन् । ‘म सधैं युवा नै रहिरहन्छु’, ‘अपांगता भएका व्यक्ति घरबाहिर किन हिँड्नु’, ‘केटाकटी एक दिन ठूला भैहाल्छन्’ भन्ने सोच पालियो भने हामीले बनाएका पूर्वाधार सबैका साझा हुँदैनन् । कसैका लागि सुविधा, कसैका लागि दुविधा त कसैका लागि अवरोधको थुप्रो मात्र बन्न पुग्छन् ।

अक्षरका अवरोध
अब सञ्चारसम्बन्धी अवरोधका कुरा गरौं । आम नागरिकलाई सेवा प्रदान गर्ने सरकारी, गैरसरकारी सबै निकायले हरेक नेपाली नागरिकले लेखपढ गर्न सक्छन् भन्ने कल्पना गरेका छन्जस्तो देखिन्छ । त्यसैले त नागरिक बडापत्र, सूचनापाटी वा विभिन्न कार्यकक्षहरूमा प्रिन्ट गरिएका सूचना मात्र टाँसिएका हुन्छन् । नपढेका मान्छे किन कार्यालय आउने ? सायद यस्तै सोचले काम गरेको छ । देशैभर लगभग एकै ढाँचाको बडापत्र राख्ने चलन छ । ठूलो फ्लेक्समा प्रिन्ट गरिएका मसिना अक्षर । एकपटक खुइलिएपछि फेर्ने चलन कहाँ छ र ? ‘नागरिक बडापत्र’ लेखेको ठूलो अक्षरबाहेक केही नबुझिँदासमेत काम चलिरहेकै हुन्छ । बडेमाको फ्लेक्सबाहेक अरू विकल्प सोचेका छौं ?
दृष्टिविहीनले त्यो फ्लेक्स कसरी पढ्ने ? ज्येष्ठ नागरिकले मसिना अक्षर कसरी पढ्ने ? पढ्नै नसक्ने निरक्षर व्यक्तिले सूचना कसरी पाउने ? पूर्ण साक्षर घोषणा गरिदिएसँगै समस्या सकिन्छन् ? फ्लेक्ससँगै ब्रेलमा नागरिक बडापत्र बनाउँदा के बिग्रन्छ ? ठूल्ठूला अक्षरमा प्रिन्ट गरेर किताबैजस्तो बनाएर राखिदिए कति सजिलो होला ? क्यासेटजस्तै केही बजाउन मिल्ने चीज राखिदिए कति सजिलो होला ? सांकेतिक भाषामा भिडियो अनुवादसहित ठूलो स्क्रिनमा आवाजमार्फत सूचना दिन सकियो भने नागरिकको सास्ती कति कम होला ? न यो धानिनसक्नु प्रविधि हो न त कुनै फजुल खर्च नै ।
अवरोधै अवरोधको नमुना बनेका हाम्रा पूर्वाधार हाम्रै साँघुरो सोचका उपज हुन् । निर्माण सामग्री थुपारिएका र तार पसारिएका फुटपाथ, ट्याकटाइल टायलको बीचबीचमा उभिएका बिजुलीका पोल, ढिस्कोजस्ता जेब्राक्रस, डरलाग्दा भीरजस्ता र्‍याम्प र अक्षर खुइलिएका नागरिक बडापत्रले हामीलाई बाटो होइन, हाम्रो सोच फराकिलो पार्न भनिरहेछन् । सिमेन्ट पोतेकै भरमा र डोजर जोतेकै भरमा सहर गतिलो बन्छ भन्ने भ्रम कहिले तोडिएला ?

Page 12
कोसेली

प्रथम प्रेम

- झलक सुवेदी


तिमीलाई सम्झादै ननिदाएका रातहरु
टोलाएर बिर्सिएका कामहरु
झन्डै भुलेको

तिम्रो शरीरबाट आउने त्यो सुवास
पाइलाको चालमा सुनिने
तिम्रो आगमनको झन्कारयुक्त सूचना
तातोतातो वास्पयुक्त सास
आतुर धड्कन र उच्छवास
झन्डै भुलेको

कोमल हातको स्पर्स
सासै सासले मारिएका बात
आाखामा देखिने प्रेमको आह्वान
सबै सबै झन्डै भुलेको

त्यो प्रथम प्रेम
छटपटीमा बिताइएका पलहरु
आफैंभित्रको आतुर प्रेमी
सुन्दर सपना र परिकल्पनाहरु
झन्डै भुलेको

झन्डै भुलेको
हरेक भेटले दिने नवीन ऊर्जा
जसको उज्यालोमा हााकिएका थिए
परिवर्तनका जुलुसहरु
जसको भरोसामा सामना गरिएका थिए
मृत्युका चुनौतीहरु
जसले दिएको थियो संसार बदल्ने साहस
र हामीले मिलेर तोडेका थियौं
स्वतन्त्रताविरूद्ध उभ्याइएका पुरातन मूल्यका पर्खाल
सबै सबै
झन्डै भुलेको

यतिका वर्षको सहयात्रापछि
सबै उत्तेजनाहरु शिथिल हुादै गएपछि
सुस्ताएर छहारीमा बसेको समयमा
बल्ल सम्झन थालेको छु
उही काखको शीतलता,
न्यानो आत्मीयता

घट्दै गएको साथीहरुको संगत
छुट्दै गएका कामको बोझ
हराउादै गएको जिम्मेवारी
सकिएको हतारोपछि
मन फर्केर उतै जाादै छ
उतिबेलैको उत्साह र ऊर्जाले
उमेरका थकानसाग जुध्ने शक्ति आर्जन गर्दै छु

हेर त !
त्यो मिलनको आहृवान
जब सहयात्रामा बदलियो
बदिलिए सबै कुराहरु एकाएक
बााकी रहेन प्राप्तिको आतुरता
न्यानो महसुस हुन छाड्यो
तिम्रो मुखबाट आइरहने त्यही तातो सास
प्रेमिल लाग्न छाडेका थिए तिम्रा आह्वानहरु
जन्मादै पाएजस्तो, सित्तैमा भेटेजस्तो
ऊर्जाविहीन भट्टीजस्तो

यसैयसै बन्धनजस्तो लाग्न थालेको थियो
तिम्रो आग्रह र सामीप्यको खोज
जीजिविषाको तीव्र दबाब झेलेर
प्रेमलाई सुरक्षित राख्न खोज्दा
छुटेको थियो प्रेम
र बितेका थिए जीवनका धेरै वर्ष
एउटा अलिनो सम्बन्धको पासामा
अहिले जब
मनले खोज्न थालेको छ साथ
वासनाहरु समन हुादै गएका छन्
खोजी हुादो छ मुलायम स्पर्शको
अनि सम्झादै छु म
त्यही स्वप्निल प्रेम
उही न्यानो स्पर्श
उही तड्पाइदिने सम्झना

आतुर मिलनको क्षण
के तिमीलाई पनि त्यस्तै हुन्छ ?

नभए पनि केही छैन
मेरा लागि काफी छ
उही सम्झना
उही पाइलाको हल्का चाल
उही शरीरबाट आउने महक
उही साउती र काउकुती
सम्झन र उग्राउादै समय कटाउन
मक्किादा हड्डीलाई बलियो बनाउन
एक्लिादै गएको मनलाई सान्त्वना दिन

एकै छिन सुस्ताउादै
घुप्लुक्क पल्टेर
स्मृतिको काखमा
समय कटाउन
जहिले त्यो सब फेरि भुलिएला
ठीक त्यही बेला
म सधैंसधैंका लागि हुनेछु
शान्त

आउ एकपटक फेरि थालौं
सुरूदेखि
आरम्भ गरौं एउटा नयाा यात्रा
जहाा भेटियोस्
उही प्रथम प्रेम
जसले बााधेको थियो हामीलाई
जीवनभर
उही प्रथम प्रेम
जसले मान्छेलाई
जुगौंदेखि बनाइरहेछ आफ्नो दास
जसबाट कोही कहिल्यै
हुन चाहन्न स्वतन्त्र !

कोसेली

वासु शशीको खुला प्रेमपत्र

- राजकुमार बानियाँ

त्यसै भनिएको होइन, वासु शशीले कविता मात्र लेखेनन्, कवितै बाँचे । र, त हाकाहाकी भन्न सके– ‘मसँग मसी भएन भने रगतले कविता लेख्छु ।’
मसी नभए रगतले कविता लेख्ने दुस्साहस कसको हुन्छ ? सिर्फ वासु शशीजस्ता असाधारण कविको । जसलाई कलमको मसी सकिए पनि पर्वाह छैन, रगतले पनि कविता लेख्न सक्छन् ।
समालोचक कुमारबहादुर जोशीका शब्द सापटी लिने हो भने कविता बाँच्ने मानिसहरू महाकवि देवकोटाजस्ता हुन्छन्, अथवा कवि भूपी वा शशी वा हरिभक्त, कालीप्रसादजस्ता हुन्छन् । उनीहरू जस्तो कविता लेख्छन्, त्यस्तै जीवन बाँच्छन् ।
साँच्चै वासु शशीको जीवन आफ्नै कविताजस्तो थियो । कविता रच्ने मात्र नभएर कविता बाँच्ने कवि । शशी स्वयम् कविता हुन् । सहृदयी, निश्छल, भावुक, संवेदनशील, तर अस्तव्यस्त र अव्यावहारिक पर्सोना ।
कविता र वासु शशीबीच कुनै दूरी रहेन । उनले जीवन बुझ्ने सुन्दरतम साधन कवितालाई नै बनाए । जीवनका सुखानुभूति र दुःखानुभूति कवितामै पोखे । उनका कविताका हरेक हरफमा मानिसका सूक्ष्म संवेदना चलमलाइरहेका देखिन्छन् ।
सम्पूर्ण कवि हुन् शशी । भित्र पनि कवि, बाहिर पनि कवि । देखिने पनि कवि, नदेखिने पनि कवि । असल कविमा असल गुण भेटिन्न भन्छन् । तर, उनका कविताले जीवनका शाश्वत मूल्य र मान्यताको खोजी गरेका छन् । सुकुमार विचार र तीव्र सौन्दर्यमार्फत उनले काव्यको चुली भेट्टाएका छन् ।
साहित्यकार दौलतविक्रम विष्ट शशीलाई ‘लर्ड वाइरन’ भन्दा रहेछन् । किनभने कविताको रोमान्टिक स्वर उनमा अटेसमटेस छ । उनका नवीनतम वैयक्तिक विम्बहरूले कवितामा मिठास, माधुर्य र लालित्य भरेका छन् ।
शशीका लागि मानिस नै सबथोक हो । सृष्टिको आश्चर्यलाग्दो कुनै कुरा छ भने त्यो पनि मानिस नै हो । मानिसलाई मानिस नभई हुन्न । मानिसलाई मानिसको माया नभई हुन्न । मानिसले पुज्ने मानिसै हो । भगवान् भनेको पनि मानिस नै हो ।
मानिसको खराब पक्षबाट पनि यी कवि आहत छन् । उनी काव्यिक कामना गर्छन्– मानिसले मानिसलाई नबिगारे पनि हुन्थ्यो । मानिसले मानिसलाई दिएको कष्ट सबभन्दा बढी कष्टकर हुन्छ । जीवन सुन्दर छ, घृणित नबनाए पनि हुन्थ्यो । ईश्वर पनि मानिसै भइदिए उसलाई साथी बनाउने उनको उद्घोष छ ।
‘ईश्वर छ, छैन भन्ने थाहा पाएर हामीलाई के हुन्छ ? विश्वास र अविश्वासको कुनै प्रश्न छैन । म ईश्वरबिना पनि बाँच्न सक्छु,’ उनी भन्छन्, ‘यदि ईश्वर छ भने त्यो जरुर मानिसले बनाएको हो ।’
इतिहास पल्टाउँदा २००७ सालको क्रान्तिपछि मानवीयतालाई महत्त्व दिएर लेख्ने अठोट गरे नेपाली कविहरूले । वासु शशीजस्ता कविले यस महाभियानलाई नसकार्ने कुरै भएन । अर्नेस्ट हेमिङ्वेको जस्तो भाषा, वाल्ट ह्विटम्यानको जस्तो चेतना, रवीन्द्रनाथ ठाकुरको जस्तो अध्यात्मको त्रिवेणीमा शशी सिर्जनाको संसारमा पसे ।
वासु शशीका कविताको डीएनएमा बिछट्टको मानवतावाद छ । आफ्नो युगको अग्रदूतका रूपमा कवितामार्फत उनले शान्ति, सौन्दर्य, प्रीति, सद्भाव एवं लोकमंगलका अमर सन्देश दिएका छन् ।
हुन त बुद्ध, मार्क्स, गान्धीसम्मले मानवताकै पक्ष लिए । त्यसको काव्यिक प्रयोग भने बीसौँ शताब्दीमा शशीजस्ता कविहरूले गरे । विचार भन्दैमा उनले कसैको कुम्लो बोकेनन्, आफ्नै मौलिक विचारलाई कविताको पहिरन दिए ।
हुन पनि बीसौँ शताब्दीको अनुभव सुखद रहेन । ठूलठूला युद्ध, क्रान्ति, परिवर्तन र उथलपुथल भए । त्यही समयको छाया छ शशीका कवितामा । त्यहाँदेखि नानो टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स आदिको समयसम्म पनि अतिवाद, आतङ्कवाद, शक्तिपूजन, धार्मिक कट्टरपन्थ, अन्ध राष्ट्रवाद, भ्रष्ट राजनीतिक पद्धतिको जगजगी रहेकाले शशीका कविता अझ सान्दर्भिक भएका छन् ।
शशीको काव्यिक उद्देश्य प्रत्येक मानिसको गरिमाको स्थापना गर्नु हो । त्यसैले उनका कविता हदैसम्म मानवीय, करुणामय, प्रेममय र शालीन छन् । आवेग, स्वार्थ, लोभ र हिंसाका एकलकाँटे विचारलाई उनी अस्वीकार गर्छन् । मानवीय गुण, पद्धति र संस्कारको आकाङ्क्षा राख्छन् । पूर्ण, स्वस्थ र सिर्जनशील मानिस उनको आदर्श हो ।
मानवतावादको दार्शनिक धरातल विशाल छ । धर्म, राष्ट्र, सिद्धान्त, जातभन्दा माथि उठेर गरिने व्यवहार नै मानवतावाद हो । शान्ति, एकता र सहयोगात्मक भावना यसका मूलमन्त्र हुन् । मानवतावादले मानवजातिको एकतामा मात्र जोड दिँदैन, मानिसलाई अझ संवेदनशील, कल्पनाशील र सिर्जनशील बनाउँछ ।
कताकता शशीका कविताले मानवतावादको बढाइचढाइ गरेजस्तो लाग्न सक्छ । तर, मानव जातिको भविष्यप्रति चिन्ता जनाउँदै आलोचनात्मक दृष्टिकोण राख्नु कविको धर्म हो । कुनै पनि मानवतावादीले अन्यायपूर्ण युद्धको स्वागत गर्नै सक्दैन । उसले आशाको दियालो बालेर भोलिको सुन्दर संसारको परिकल्पना गर्छ नै ।
शशीका गद्यशैलीका कविता कुनै अत्यन्त लघुकायाका छन् भने कुनै खण्डकाव्य स्तरका । छिमेकी भारत र चीनबीचको युद्धको पृष्ठभूमिमा लेखिएको कविता ‘बीसौँ शताब्दीको गीत’ लामो काव्यको उदाहरण हो ।
वासु शशी आणविक शस्त्रास्त्र र ध्वंसको तीव्र भर्त्सना गर्छन् भने सङ्कीर्ण राष्ट्रवादलाई धिक्कार्छन् । किसान र मजदुरलाई मानवीय सभ्यता र संस्कृतिको सक्कली स्रष्टा मान्छन् । उनका लागि देश पहिरोमा भत्कँदैन, खोलानालामा सुक्दैन, हिउँमा कक्रिँदैन, देश बगरमा किल्चिलाउँदैन, मानिसको दिलमा भत्किन्छ, मानिसको आँतमा सुक्छ, मानिसको जीउमा कक्रिन्छ, देश मानिसको मस्तिष्कमा किल्चिलाउँछ । मानिसको मनमा मच्चिएको भूकम्पमा भताभुङ्ग हुन्छ । अनि त कवि लेख्छन्, ‘देश अर्थात् देश खोइ ?’
कवि के भन्छन् भने यो देशमा दुइटा हिमालय छन्, एउटा हिउँको, अर्को मानवीय दुःख र दरिद्रताको । उनी व्यथित भएर भन्छन्, ‘दुःख पनि बिक्दो हो त म बडो सुख पाउँथेँ ।’ उनको प्रश्न छ, ‘देश नागरिकको हो कि एउटा बजार मात्रै हो ? वा पसलहरूको समूह मात्रै हो ?’ उनका लागि मानिसहरू चिरागभन्दा उज्याला हुन्, मानिसहरू प्रेमभन्दा महान् हुन्, मानिसहरू सत्यभन्दा महान् हुन् ।
शशी के पनि भन्छन् भने मानिस सबभन्दा बढी मानिसकहाँ जान चाहन्छ, मानिसले मानिसलाई मन पराउनुजस्तो सुन्दर अरु केही छैन । मानिस र मानिसको सम्बन्धजस्तो मधुर अरू केही हुन पनि सक्दैन । खतरनाक तब हुन्छ, जब मानिसलाई मानिस होइन, मालसामान भए पुग्छ ।
कविको दृष्टिमा मानवीय संवेदनालाई बचाउने सर्वोत्तम माध्यम साहित्य, कला र सङ्गीत नै हुन् । यिनले मानिसको मन र मस्तिष्कलाई परिमार्जित र सुसंस्कृत तुल्याइदिन्छन् । उनी जहिल्यै सरलताको पक्षपाती देखिए । शशीको दृष्टिमा सरलता नै सुन्दरता हो । तर, दुर्बोध्यता विशिष्टता र अपराध दुवै होइन ।
स्पष्टता स्वयम्मा सौन्दर्य र आकर्षण हो । त्यो शशीका कवितामा छ । साहित्य जति मात्रामा क्लिष्ट हुन्छ, त्यति नै मात्रामा त्यो साहित्यकारको असफलता हुन जान्छ । कवितालाई बोधगम्य तुल्याउन कविले चानेचुने परिश्रम गरेर पुग्दैन । जसरी आगोले मूर्खलाई पनि पोल्छ, विद्वान्लाई पनि पोल्छ, त्यसरी नै साँचो साहित्य सबैका लागि हुन्छ ।
मानिसलाई अचाक्ली माया गर्ने शशी प्रेमिल कवि हुन् । उनका कवितामा प्रेम रसात्मक अभिव्यक्ति छ । मानिसका लागि खुला प्रेमपत्रजस्तै छन् शशीका कविताहरू । उनी भन्छन्– प्रेम नहुनुजस्तो कुरूपता केही हुन सक्दैन । आमाको मृत्युपछिको एक्लोपनले वासुदेव वैद्यलाई वासु शशी बनायो । र, ‘पानी गल्दैन’ जस्तो सुन्दर काव्य लेखे । छोरा नीरज अमेरिका गएको प्रसंगमा लेखे, ‘घर छाडेर जानेले घरै लिएर गएछ, कोठा, चोटा, छतहरू बाँकी छाडेर घरचाहिँ लिएर गएछ ।’
खासमा समयको प्रतिध्वनि छ शशीका कवितामा । नागर जीवनका अनिश्चितता, कोलाहल, त्रासदी, हाहाकार, दौडधुप, बेफुर्सदी, रक्तपातको मार्मिक अभिव्यक्ति छन् । व्यक्तिजीवनका झिझ्याट, हैरानी, असन्तोष र उदासीनताको तीतो र खल्लो अनुभव पनि छ । सामाजिक जीवनमा आएका उल्टोसुल्टो र घातप्रतिघातलाई सोहोरेर उनले कविता लेखेका छन् ।
कतिपयलाई लाग्न सक्छ, वासु शशी लहडी र मनमौजी कवि हुन् । तर, उनी विचारका कवि हुन् । शैली मात्र समात्ने लेखकहरूलाई उनी असफल ठान्छन् । विचार नसमातेका कविता बाँच्दैनन् भन्ने लाग्छ । उनी लेख्नु पहिल्यै ‘थिम’ थाहा नपाउने लेखक हुन् । थाहा पाउनु नै पुरानो हुनु हो उनका लागि । उनी थाहा नपाइसकेका कुरा लेख्छन् । जब लेख्छन्, तब बुझ्छन् । बुझिसकेर लेख्दैनन् ।
प्रत्येक कविको आफ्नै शैली हुन्छ, त्यही शैलीबाटै लेखक अरूका सामु अभिव्यक्त हुन्छ । वासु शशी शाब्दिक जञ्जाल र भाषिक कृत्रिमतामा कहिल्यै फसेनन् । जीवनलाई अलग राखेर सिर्जना गरेनन् पनि । जीवनकै छेउछाउ हिँडिरहे डरलाग्दोसँग ।
हिजोआजका कविहरू कविताका नाममा कुण्ठा लेख्छन् । वासु शशीचाहिँ कुण्ठाको उदात्तीकरण गर्छन् । आत्मपीडा, प्रणयभाव, प्रकृतिप्रेमका भावधाराले उनी निथ्रुक्कै छन् । यस्तो लाग्छ, रूखका साथी चरा हुन्, चराका साथी रूख हुन् । चरा र रूख दुवैका साथी वासु शशी ।
लाग्छ, बहुविधामा रमाएका शशी बाँच्नभन्दा लेख्न मन पराउने कवि छन् । यी विश्वप्रेमी हरेक क्षण बालक भइरहन चाहन्छन् । शशीको शक्ति के पनि हो भने समकालीन सबै मित्रलाई आफ्नै टेबलमा ल्याए । पर्खालबिना पनि सबैसँग रहने जीवन दर्शन थियो उनमा । पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ भन्ने चेतना त्यसकै भावपूर्ण दृष्टान्त हो । उनका सम्पादक दाजु गोविन्द वैद्यले भनिरहे, ‘पहिले म कवि थिएँ, कविता लेखेँ पनि । मैले छाडेँ, वासुले समातिरह्यो । ऊ ठूलो कवि बन्यो, म सानो पत्रकार बनेँ ।’
वासु शशी कुनै पद वा पुरस्कारका कारण कवि भएका होइनन् । आफ्नो ५७ वर्षे जीवनमा उनले ती चिजको सामान्य स्पर्शसमेत पाएनन् । पुरस्कारले साहित्यकारलाई भिखारी र पुरस्कार गुठीका पदाधिकारीलाई व्यापारी बनाएको उनलाई बोध थियो ।
प्रजातन्त्रको पुनरागमनपछि बनेको नयाँ प्रज्ञाप्रतिष्ठानमा उनीजस्ता असली प्राज्ञ अटाएनन् । रेडियो नेपालमा सल्लाहकार बन्ने हल्ला मात्रै सुनियो । राष्ट्रिय सभाको सांसद बन्न सिमलावासी जगदीशशमशेर नै चाहियो ।
मृत्युलाई रोमान्स ठान्ने वासु शशी जीवित रहेका भए अहिले ८५ वर्षका हुन्थे । उनको प्रस्थान अपर्झट भयो, कुनै सङ्केत नै नगरी । त्यसैले त उनकी जीवनसङ्गीनी जुलुम वैद्यलाई यतिका वर्षसम्म पनि वासु शशी नभएजस्तो लाग्दैन । भरे आउँछन्, भोलि आउँछन् जस्तो लागिरहन्छ । उनी भनिरहेकी छन्, ‘मलाई त उहाँ नभएकोजस्तो लाग्दैन । कतै घुम्न गएजस्तो लाग्छ ।’
काव्यमा वासु शशीको मृत्यु स्वीकार्य छँदै छैन । उनका कविताले शशीको आभास दिलाउँछन् नै । त्यसैले जुलुम कोठा सजाउन छाड्दिनन्, खानाको भाग नछुट्याउन मनै मान्दैन । प्रतीक्षामा संघार कुरिरहन्छिन्, बत्तीमा तेल थप्न छोड्दिनन् ।
उनी मात्र किन ? साहित्यकार परशु प्रधानका औँला अझै पनि टेलिफोन नं ४७१७६० मा अनायास जान्छन् । शशीको पुरानो घरमा लोकल रक्सी र मासुचिउरा खाएको क्षण आलै छन् । आखिर वासु शशी भनेको ढुङ्गाभन्दा बूढो पनि होइन । हावाजस्तो पनि हलुका होइन ।
तर, समयको खेल, ज्ञानु भण्डारीले भने/सुनाए– बासे त कार्गो भएर आयो ! क्यान्सरले आखिर जहाजको बाकसभित्र पार्सल बनाएर पठायो उनलाई । लाग्छ, यी यशस्वी कविले महाप्रस्थान गरेकै छैनन् । उनी त आफ्ना रचनाहरूमै छेलिएका छन् । फेरि कतै न कतै देखिइहाल्छन् ।

कोसेली

पर्खालबाहिरका कवि

- विमल भौकाजी

पुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ ।’
महान् दर्शन मिसिएझैं लाग्ने यो वाक्य वासु शशीले भनेका थिए । यस गहन वाक्यको रहस्य सोध्न मन नलागेको होइन । तर, लेख्दालेख्दैको कलम बन्द गरें र उनको अन्तर्वार्ता समाप्त गरेँ । किनकि त्यस्तो गह्रौं वाक्यप्रति कुनै अर्को प्रश्नवाचक शब्द निकाल्ने हिम्मत भएन मलाई ।
खोज्नुमै छ जीवनको सार । तर, खोज्दाखोज्दै थाहै नपाई जीवन समाप्त हुन्छ । जब भेटिन्छ खोजेको, फेरि अर्को खोज सुरु हुन्छ । जीवन बुझ्न खोजिरहे शशीले । एक हिसाबमा जीवनसँग असन्तुष्ट रहे, तर जीवनको अर्थ खोजिरहे ।
– कविता लेखे, कवितामा जीवनको उद्देश्य खोजे ।
– गीत लेखे, गीतको धुनमा जीवनको लय खोजे ।
–पत्रकार भए, समाचारमा वास्तविकता खोजे ।
–‘सञ्चय’ डाइजेस्टको सम्पादक बने, लेखनमा मान्छेको संवेदनशीलता खोजे ।
–टेलिफिल्म बनाए, पात्रहरूको अभिनयमा बाँच्नुको अर्थ खोजे ।
तर, खोजले कहिल्यै पूर्णता पाएन । टुँडिखेलको खुलामञ्चमा उभिएर भाषण पनि ठोके, तर राजनीतिमा सदा कमजोर रहे ।

करिब–करिब ‘बेड’ नै स्थायी साथी भइसकेको थियो त्यसबेला वासु शशीको । बिरामी परेको थाहा पाएर गणेशमान सिंह वासु भेट्न उनको घर पुगे । उपचारार्थ मुम्बई जाने तयारी चल्दै थियो उनको । गणेशमानले खल्तीबाट एक लाख रुपैयाँको बिटो निकालेर शशीतर्फ बढाउँदै भने– ‘देशमा कवि कलाकारलाई राज्यले यस्तो बेला सहयोग गर्नु उसको कर्तव्य हो । तर, राज्यले त्यति वास्ता नगरेको तपाईंको अवस्था थाहा पाएर, एउटा अभिभावकको हैसियतले तपाईंलाई सहयोग गर्नु मेरो नैतिक कर्तव्य ठानेर यहाँ आएको छु । त्यसैले... ।’
गणेशमानको वाक्य पूरा हुन नपाउँदै वासु डाँको छोडेर रोए । वासुले भने, ‘उपचारका लागि मलाई खर्च जुटेकै छ, आवश्यकता त मलाई प्रेमको छ, स्नेहको छ । तपाईं जो यहाँसम्म आइदिनुभो, त्यो नै मेरो सौभाग्य हो । मलाई यो पैसाको जरुरत छैन ।’

अरूको पीडामा सानो बच्चाझैँ रोइदिने कमलो हृदयका मानिस थिए उनी । बच्चाबच्चीप्रतिको लगाव ज्यादा नै थियो । वरिपरिका बालबालिका बोलाएर चकलेट बाँडी हिँड्थे । बिन्दास, बेमतलबी, मनमौजी उनले आफ्नो घर अवस्थित चाबहिल–जयबागेश्वरीमा ‘वासु शशी मार्ग’ नाम लेखेर टोलमा साइनबोर्ड झुन्ड्याएका थिए । उनको पिउने बानी छँदै थियो, जीवनको उत्तरार्द्धमा त्यसको गतिले झन् तीव्रता लियो । भनिन्थ्यो, घरको बगैंचामा कतै न कतै रूखबिरुवाको झाङमा समेत उनी रक्सीका साना–साना सिसी लुकाएर राख्थे । बेलाबेला भन्ने गर्थे, ‘म जिन्दगीसँग हारिरहेछु ।’ कदाचित् पिउन नपाउँदा उनी चिच्याउँथे– ‘खोसे, मेरो आनन्द खोसे... ।’
रक्सीभन्दा चुरोटका अम्मली थिए वासु शशी । अझ पातमा सुर्ती बेरिएको बिँडी तान्थे । नशासँगै उनले अद्भुत सिर्जना गरे । ‘बीसौँ शताब्दीका गीत’ (कविता), ‘बाँसुरीमा नअटाएका धुनहरू’ (नाटक) लेखे ।
उनले लेखेका केही वाक्य सधैं सम्झनामा आउँछन्–
– पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ ।
– हिमालय अग्लो हुँदैमा हामी महान् होइनौँ ।
– कवि–लेखकहरू दियो समान हुन्छन्, ती कहिल्यै मर्दैनन् । एउटा दियोले अर्को दियोलाई बालिरहेको हुन्छ ।
– संसारमा कुनै पनि मानिसको सट्टा–भर्ना गर्न सकिँदैन ।

उनी जीवित रहुन्जेल नेपाली लेखकका विभिन्न समूह–जमात कसैले पनि उनको प्रतिभा पहिल्याउने खाँचो सम्झेनन् । उनी भन्ने गर्थे– ‘समाजमा धोका र प्रपञ्चका अलावा अर्थोक मैले केही पाइनँ ।’ उनले लेखेका छन्–

‘सत्यको किरिया मानिसले बाहेक
अरू कुनै प्राणीले खाएनन् !
तर, मानिसले बाहेक झूटो कुरा
अरू कुनै प्राणीले गरेनन् ।’

अहिले पनि साहित्यकारहरूले लगाएको पर्खालभन्दा बाहिरै छन् वासु शशी । राज्य वा सम्बन्धित जमात, मूलतः साहित्यिकहरू कुनै सरोकार राख्दैनन् । उनकै नाममा स्थापित ‘वासु शशी स्मृति परिषद्’ एक्लैले शशीको नाम–काम संरक्षण गरिरहेको छ । यो समाजले यति बुझिराख्नु जरुरी छ– इतिहासको महल भत्काएर कहाँ भत्किन्छ ? भग्नावशेषभित्रै पनि इतिहासको जग गाडिएको हुन्छ !