प्राप्त वंशावलीमध्ये सबैभन्दा पुरानो गोपालराजवंशावलीले भन्छ– नेपालमा सबैभन्दा पहिले गोपाल वंशका ८ ‘राजा’ को शासन चल्यो । त्यसपछि गोपाललाई पराजित गरी ३ महिषपाल
‘राजा’ को शासन चल्यो । त्यसो हो भने प्राचीनकालका ती गोपाल र महिषपाल को हुन् ?
पहिलोथरी विद्वान्को मत छ– गोपाल–महिषपालहरू अस्ट्रोल जाति हुन् ।
दोस्रोथरी विद्वान्को मत छ– गोपाल–महिषपाल भनेका नागजाति हुन् ।
तेस्रोथरी विद्वान्को मत छ– गोपाल–महिषपाल भनेका भोट–बर्मेलीभाषीका पुर्खा हुन् ।
चौथोथरी विद्वान्को मत छ– गोपाल–महिषपाल (निप–आभिर) भनेका पशुपालक आर्य गणजाति हुन् ।
पाँचौंथरी विद्वान्को मत छ– गोपाल भनेको वर्तमानका खसहरू हुन् र महिषपाल भनेको वर्तमानका यादवहरू हुन् ।
सारभूत रूपमा भन्दा पहिलो र दोस्रोथरी मत एकै कोटिका हुन् । त्यस्तै चौथो र पाँचौंथरी मत पनि एकै कोटिका हुन् । यो लेखमा यी तीनथरी मतको सत्यतामाथि समीक्षा गर्ने प्रयास गरिएको छ ।
...
सर्वप्रथम इतिहासकार बाबुराम आचार्य, ज्ञानमणि नेपाल, सुदर्शनराज तिवारी, कुलचन्द्र कोइराला र मोदनाथ प्रश्रित लगायतले प्रतिनिधित्व गर्ने पछिल्लो दुईथरी मतबाटै छलफल सुरु गरौं । यहाँ स्मरणीय के भने तिवारीले चाहिँ गोपालहरूलाई मात्र भारोपेली भाषीहरूको पुर्खा मानेका छन् । आर्य मानेका महावंशका हिसाबले खस, आर्य र यादव एकै हुन् । फरक यति हो– खसहरू मूलतः पश्चिम नेपालका पहाडी क्षेत्रमा केन्द्रित भए, वैदिक आर्यहरू उत्तर भारतमा फैलिए । इतिहाससिद्ध कुरा हो कि वैदिक आर्यहरू गाईपालक हुन् । उनीहरूको जीवनमा गाईको यति धेरै महत्त्व थियो कि थुप्रै व्यावहारिक शब्दहरू ‘गो’ (गाई) बाट बनेका छन् । जस्तो कि संस्कृतमा धनाढ्यलाई गोमत भनिन्थ्यो, दूरी बुझाउन गव्युति शब्द प्रयोग हुन्थ्यो, राजालाई गोप वा गोपति भनिन्थ्यो, गाईको दूध दुहुने अर्थमा छोरीलाई दुहितृ भनिन्थ्यो । वैदिक आर्यहरूकै बीच गाईका लागि हुने युद्धलाई गविष्टि र गवेषण भनिन्थ्यो । तर, वैदिक आर्यहरू भैंसीदेखिचाहिँ बिलकुल अपरिचित थिए । उनीहरूले भारत आइपुगेपछि मात्रै भैंसी देखेका थिए । त्यसैले गाईजस्तै रौं भएको भन्ने अर्थमा भैंसीलाई ‘गोवल’ नाम दिएका थिए (रामशरण शर्मा, प्राचीन भारत में भौतिक प्रगति एवं सामाजिक संरचनाएँ, सन् २००६) । भारत आइपुगेपछि वैदिक आर्यहरूको संघर्ष भैंसी पाल्नेहरूसँग चलेको संकेत ‘महिषासुर’ अर्थात् भैंसी (महिष) पालक असुर (राक्षस) लाई दुर्गादेवीले गरेको संहारको कथाले गर्छ । खासमा यो भनेको गैरआर्य भैंसीपालक र आर्य गाईपालकबीचको संघर्षको कथा हो । यो सांस्कृतिक तथ्यले आर्य परिवारभित्रका यादवहरू काठमाडौं उपत्यकाका महिषपाल होइनन् भन्ने नै बताउँछ ।
अर्कोतिर वैदिक आर्यहरूको भारत आगमन र नेपालमा गोपाल–महिषपालहरूको समयको अन्तराल पनि धेरै फराकिलो छ । वैदिक आर्यहरू ३५०० (इसापूर्व १५००) वर्षपहिले भारत प्रवेश गरेका थिए । भारत प्रवेश गरेपछि पूर्वी बिहारसम्म पुग्न उनीहरूलाई ९०० वर्ष लागेको थियो अर्थात् २६०० (इसापूर्व ६००) वर्षपहिले मात्रै वैदिक आर्यहरू पूर्वी बिहार पुगेका थिए (एसके चटर्जी, ‘रेस मुभमेन्ट्स् एन्ड प्रिहिस्टरिक कल्चर’, वैदिक एज, १९५७) । गोपाल र महिषपालहरूको समय वैदिक आर्यहरू भारत प्रवेश गर्नुभन्दा धेरै पहिला हो । निरिश नेपालले नवपाषाणकालको प्रारम्भमै अर्थात् ५,००० वर्षपहिले नै गाई–भैंसी पाल्नेहरूको स्थिर बस्ती बसिसकेको आकलन गरेका छन् (रोलम्ब, अक्टोबर–डिसेम्बर १९८२, जनवरी–मार्च १९८३) । त्यस्तै गाईपालनका लागि रोज्जारोज्जा मैदानहरू चटक्कै छोडेर नेपालका अनकण्टार पहाड (काठमाडौं) तिर आउनुपर्ने कुनै दरकार थिएन वैदिक आर्यहरूलाई । अनि वैदिक आर्यहरू भारतमा आउनुभन्दा पहिले नै आस्ट्रिक (अस्ट्रोल) जातिले पशुपालन सुरु गरिसकेका थिए (एसके चटर्जी, वैदिक एज) भन्ने पनि यहाँ स्मरणीय छ ।
खसहरू पनि कहिले नेपाल आइपुगे भन्नेबारे केही विद्वानहरूले सम्भावित समय अनुमान गरेका छन् । इतिहासकार डा. सुरेन्द्र केसीले खसहरू इसापूर्व २७६–२३६ देखि पाँचौं शताब्दीको बीचमा कर्णाली नदीवरिपरि आइपुगेको बताएका छन् (प्राचीन तथा मध्यकालीन नेपाल, २०५५) । उता भाषाशास्त्री बालकृष्ण पोखरेलले चाहिँ पन्जाबदेखि नेपालसम्मका भारोपेली भाषाका शब्दहरूका आधारमा खसहरू सन् ६०० तिर कुलुब्याँसीमा थिए, त्यहाँदेखि सन् ८०० तिर नेपाल प्रवेश गरे र सन् ११०० तिर पश्चिम नेपालमा बलियोसँग स्थापित भए भनेका छन् (नेपाली भाषा र साहित्य, २०७७) । खसहरूको नेपाल आगमन इतिहासकालको कुरा हो, जबकि गोपाल–महिषपालको समयचाहिँ प्राग्इतिहासकालको ।
तेस्रोथरी मतको प्रतिनिधित्व इतिहासकार कमलप्रकाश मल्ल र सुदर्शनराज तिवारीले गरेका छन् । यहाँ स्मरणीय कुरा के भने तिवारीले भैंसी पालकलाई मात्रै भोट–बर्मेली भाषीका पुर्खा मानेका छन् । मल्लले काठमाडौं उपत्यकाका गाई पाल्ने न्हेत्पाबाट नेवार – नेवाल – नेबाल हुँदै नेपाल नाम रहन पुगेको तथा भोट–बर्मेली भाषामा ‘ने’ भनेको गाई–भैंसी अथवा गाईबस्तु, ‘पा’ भनेको मान्छे (फ्रम लिटरेचर टु कल्चर, सन् २०१५) हुने भएकाले गोपाल–महिषपाललाई भोट–बर्मेलीभाषीका पुर्खा ठहर्याएका छन् । पहिलो र दोस्रोथरी मतमाथि छलफल गर्ने क्रममा स्वतः स्पष्ट हुने भएकाले मल्ल र तिवारीको मतबारे यहाँ छुट्टै चर्चा गरिएको छैन ।
...
निरिश नेपाल (रोलम्ब, अप्रिल–जुन, १९८२) ले गोपाल र महिषपालहरूलाई नागजाति भनेका छन् भने डीआर रेग्मी र गोपालसिंह नेपालीले अस्ट्रोल वंशका मानेका छन् । नागजातिबारे लम्बेतान कुरा नगरी छोटोमा के भनौं भने नाना प्रकार र नामका नागहरूको प्रारम्भिक कल्पना कोलहरूले नै गरेका (एसके चटर्जी, वैदिक एज) कारण गोपाल–महिषपालहरू कोल (मुन्डा) जातिका पुर्खा हुन् भन्ने प्रस्ट छ । गोपाल–महिषपालहरू कोल
(मुन्डा) जाति हुन् भन्नका लागि दुई बलिया आधार छन्– सामाजिक–सांस्कृतिक र भाषिक प्रभाव ।
यी दुई आधारमाथि चर्चा गर्नुपहिले कोल (मुन्डा) हरू को हुन् र कसरी नेपाल आइपुगे भन्नेबारे नै चर्चा गर्दा सुल्टो होला । भारतको विस्तृत भाषिक सर्वेक्षण गरेका जर्ज ग्रियर्सन (लिङ्गुइस्टिक सर्बे अफ् इन्डिया, भोल्युम १, पार्ट १) ले एउटा गम्भीर विषय उठान गरिदिएका थिए । उनले अहिले मुन्डा (कोल) हरू मध्यभारतको पहाडी भेगमा बसोबास गरिरहेको भए पनि त्यसभन्दा पहिले उनीहरू (नेपालका) हिमाली क्षेत्रका जंगलहरूमा लामो समय बसेको चर्चा गरेका थिए । त्यस्तै उनले किराती भाषामा मुन्डा (कोल) भाषाको प्रभाव रहेको पनि बताएका थिए ।
त्यस्तै भारतीय इतिहासकार शिवप्रसाद डबरालले भारतको उत्तराखण्ड र नेपालको हिमाली क्षेत्रमा कोल
(मुन्डा) हरू द्रविड, किरात र आर्यहरूभन्दा धेरै पहिला आइपुगेको बताएका छन् (उत्तराखण्ड का इतिहास, भाग २, नवसंवत्सर २०२५) । त्यस्तै मानवशास्त्री क्रिस्टोफ भोन फुरर–हाइमेन्डोर्फ (कमलप्रकाश मल्ल, फ्रम लिटरेचर टु कल्चर, सन् २०१५) के भन्छन् भने नवपाषाण युगको अन्तिमतिर आसामबाट मुन्डा भाषा बोल्ने जाति व्यापक रूपमा फैलिएका हुन् ।
तर, जब हिमाली क्षेत्रमा किरातहरूको विस्तार भयो तब कोल (मुन्डा) भाषीहरू या त किरातीहरूका गाउँसेवक हुन पुगे, या त तिब्बतछेउका हिमाली क्षेत्रतिर कोचिन पुगे । फेरि पश्चिम नेपालबाट प्रवेश गरेका खसहरूले चाहिँ किरातहरूलाई हिमालयका राम्रा चरिचरण क्षेत्रबाट अझ उत्तरी हिमाली क्षेत्रका निर्जन र दुर्गम क्षेत्रतिर धकेलिदिए, जसको परिणाम किरातहरूले ती क्षेत्रमा पहिल्यै बसोबास गरिरहेका कोल (मुन्डा) हरूलाई आफूमा सम्मिलन गरे । यही कारण तिब्बती सिमानामा बसोबास गर्ने किरातहरूमा कोल (मुन्डा) हरूको प्रभाव पाइन्छ
(उत्तराखण्ड का इतिहास, भाग २) । हिमाली क्षेत्रमा कोचिन पुगेका ती कोलहरू भनेका भोटियाहरू हुन् भन्ने विचार बुचानन ह्यामिल्टन (फ्रान्सिस ह्यामिल्टन, एन एकाउन्ट अफ किङडम अफ नेपाल, १८१९) को छ । मुस्ताङ, कुती, लासा र दिगर्चाजस्ता चिसो हिमाली क्षेत्रमा बस्ने भए पनि भोटियाहरूको छालाको रङ अहिले पनि कालो नै रहेको आधारमा उनी यो निचोडमा पुगेका हुन् ।
प्राग्इतिहासकालका ती कोल (मुन्डा) हरूको सामाजिक–सांस्कृतिक प्रभाव नेपालका किरात महावंशका प्रायः सबैमा देखिने गरी नै जीवित छ–
एक, काठमाडौंका भैरव–भैरवी । इतिहासकार डीआर रेग्मी (एन्सियन्ट नेपाल, सन् १९६०) ले काठमाडौं उपत्यकाको पहिलो बासिन्दा अस्ट्रो–एसियाटिक जातिलाई मानेका छन् । त्यो भनेको कोल (मुन्डा) हरू हुन् । उनीहरू पछि मात्रै काठमाडौं उपत्यकामा आइपुगेका हुन् भोटबर्मेलीभाषी मंगोल र द्रविडहरू । नेवारभित्र अस्ट्रो–एसियाटिक जातिको नजिक रहेको जाति सम्भवतः ज्यापू हो । गोपालसिंह नेपाली (द नेवार्स अफ नेपाल, सन् १९५९) ले पनि काठमाडौंका मूलवासीका रूपमा अस्ट्रो–एसियाली जातिलाई नै मानेका छन् अर्थात् कोल, मुन्डाहरूलाई नै मानेका छन् । उनीहरूलाई किरातहरूले विस्थापित गरे । तर, उनीहरूले किरातीहरूमा जबरजस्त सांस्कृतिक प्रभाव भने छाडिराखे । गोपालसिंह नेपालीको विचारमा भैरव र भैरवी संस्कृतिसँग जोडिएका बलामीसँगै बस्ने दुनियाँथरका नेवारहरूको शारीरिक बनावट अरूभन्दा फरक देखिने भएकाले उनीहरू काठमाडौं उपत्यकाका पहिलो बासिन्दा कोल–मुन्डाका सन्तान हुन सक्छन् ।
काठमाडौं उपत्यकाको नाम नागह्रद, नागबास, कालिह्रद भनेर वंशावली, स्वयम्भू पुराण र नेपाल महात्म्यमा उल्लेख छ । नागपूजक जातिहरूको बसोबास भएका कारण काठमाडौं उपत्यकाको नाम यस्तो राखिएको हो । ती आदिम नागजातिहरू नागर्जुन, फुल्चोकी र शिवपुरी क्षेत्रका गुफामा बस्थे । उनीहरू सिकार गर्थे, माछा मार्थे, प्राकृतिक रूपमा कन्दमूलहरू संकलन गर्थे (निरिश नेपाल, रोलम्ब, अप्रिल–जुन, १९८२) । वंशावलीहरूले प्राकृतिक कन्दमूलहरू संकलन गरेर जीविकोपार्जन गर्ने नागजाति नै क्रमशः पशुपालन र अन्न उब्जाउने कृषिमा लागे भन्ने संकेत गरेको छ (निरिश नेपाल, रोलम्ब, अक्टोबर–डिसेम्बर १९८२) ।
दुई, कोलिग्राम । लिच्छविकालका प्रसिद्ध जातिहरूमध्ये एक थिए कोली । कपिलवस्तुको पूर्वपट्टि राज्य भएका यी कोलीहरूको बस्ती तत्कालीन कान्तिपुरमा लिच्छविकाल र त्यसभन्दा पछाडि पनि थियो । कोलीहरूको बस्ती भएको गाउँलाई कोलिग्राम र दक्षिण कोलिग्राम भनिन्थ्यो (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३०) । यो कोलिग्रामले निश्चय नै कोल जातिको स्मरण गराउँछ । र, काठमाडौंमा कोलहरूको बस्ती थियो भन्ने प्रमाण मान्न सकिन्छ ।
तीन, काठमाडौंमा गोरु नजोत्ने संस्कृति । काठमाडौं उपत्यकाका नेवारहरूमा गोरुले खेत जोत्नु हुँदैन भन्ने जुन विश्वास र प्रचलन छ, त्यो मुन्डा (कोल) जातिकै प्रभाव हो भन्ने विचार मानवशास्त्री फुरर–हाइमेन्डोर्फ
(कमलप्रकाश मल्ल, फ्रम लिटरेचर टु कल्चर) को रहेको छ । गोरुले नजोती धानखेती गर्ने कृषि प्रविधिको विकास गरेका मुन्डा (कोल) हरू नवपाषाणकालको अन्तिमतिर आसामबाट बसाइँ सरी काठमाडौं आइपुगेका थिए ।
चार, नेवारभित्रका सापु र मेपु । प्राचीनकालका ती गोपाल–महिषपालहरू अहिले पनि नेवार समाजमा छन् । नेवारभित्र अहिले हले (ग्वा) थर पाइन्छ । उनीहरू अहिले दुई थरमा बाँडिएका छन््– गाईपालक सापु र भैंसी पालक मेपु । टिस्टुङ, चित्लाङ, टौखेल क्षेत्रमा महेषीपीडा शब्द अंशुवर्माको अभिलेखमा फेला परेको छ, जसमा भैंसीपालनको संरक्षण गर्ने कुरा उल्लेख छ । यस्तै अभिलेख टौखेलमा पनि भेटिएको थियो (निरिश नेपाल, रोलम्ब, अप्रिल–जुन, १९८२) । टौखेल, न्हुलु, कुन्छा, पापुङ, पुलागाउँ, शिखरकोटजस्ता टिस्टुङ–टौखेल–चित्लाङ क्षेत्रमा नेवारभित्रका गोपाल थरका नेवारहरूको बस्ती छ अहिले पनि । अमरकोश (सन् ५५०–७५०) मा गाई पाल्नेहरूलाई अहिर भनिएकाले गोपाल भन्नु र अहिर भन्नु एउटै हो । त्यसैले निरिश नेपालको विचारमा गोपाललाई अहिर (आभिर) वंशले विस्थापित गर्यो भन्ने सही होइन ।
पाँच, नेवार समाजमा पाइने मातृसत्तात्मक संस्कृति । निरिश नेपालका विचारमा गोपालहरू सातजना महिलाहरूको नेतृत्वमा काठमाडौंका सात गाउँमा विभाजित भए– सतुङ्गल, भोसिगाउँ, मच्छेगाउँ, टौखेल, कीर्तिपुर, लोहोङ्कोट र नगम (पाँगा) । सम्भवतः यो सातगाउँ काठमाडौं उपत्यकाको पहिलो बस्ती हुनुपर्छ, जुन नवपाषाण युगको प्रारम्भमा गाई–भैंसीपालकहरू स्थिर रूपमा बस्न थालेपछि सुरु भएको हो । त्यसको स्मृतिमा यो सातगाउँ पर्व सुरु भएको हुन सक्छ । महिलाको नेतृत्वमा बस्ती बसेका कारण सात गाउँमा अजिमा (बजु) को पूजा हुन्थ्यो । तर, गाईबस्तुहरूको हेरचाह गर्ने पुरुषहरूको भूमिका महत्त्वपूर्ण हुँदै गएपछि उनीहरू कविला प्रमुख हुने परम्परा सुरु भयो र अजिमाको सट्टामा अजुद्यो (बाजे) हरूको पनि पूजा सुरु भयो (निरिश नेपाल, रोलम्ब, जनवरी–मार्च १९८३) । त्यसपछि काठमाडौं उपत्यकाको समाज मातृसत्तात्मकबाट पितृसत्तामा गयो ।
छ, गुरुङहरूको रोदी । कोल जाति र नेपालका भोटनजिक बस्ने किरातीको रक्तमिश्रण भएको ठाउँमा कोलहरूको सांस्कृतिक प्रभाव देखिन्छ (उत्तराखण्ड का इतिहास,
भाग २) । जस्तो कि नेपालको हिमाली क्षेत्रका भोटियाहरूमा रमबङ अथवा हम्बाघर बनाउने संस्कृति छ । रमबङ अथवा हम्बाघर भनेको गुरुङहरूको रोदीघरजस्तै हो । यसमा के हुन्छ भने गाउँका दस वर्षभन्दा माथिका युवायुवतीहरू कुमार–कुमारीगृहमा हरेक रात जम्मा हुन्छन् । रातभर नाचगान गर्छन्, मदिरा पिउँछन् र सुत्छन् (चार्ल्स ए. सेरिङ, वेस्टर्न तिब्बत एन्ड ब्रिटिस बोर्डरल्यान्ड, सन् १९०६≤ एसडी पन्त, द सोसल इकनमी अफ द हिमालयज्) । गुरुङहरूमा पनि ठ्याक्कै यस्तै तरिकाले रोदीघरमा नाचगान हुन्छ । यसको व्यवस्थापन र सञ्चालन युवतीहरूले गर्छन्, जसलाई रोदीबाई भनिन्छ ।
सात, कोल–किरात सृष्टिकथा । किरात र कोलहरूमा प्रचलित सृष्टिकथामा एउटा आधारभूत समानता भेटिन्छ । कोलहरूमा समुद्रबाट कछुवाले ढाडमा माटो बोकेर बाहिर ल्याएपछि पृथ्वी बनेको (वाल्टर जी. ग्रिफिथ्स, द कोल ट्राइब अफ सेन्ट्रल इन्डिया, सन् १९४६) सृष्टिकथा प्रचलित छ भने किरात राईहरूमा आदिम तलाउ बैकुवाबाट धमिराले माटो निकालेपछि पृथ्वी बनेको मुन्दुमी मिथक पाइन्छ । फरक धमिरा र कछुवामा मात्रै हो ।
आठ, किरात क्षेत्रमा पाइने चिहानका गहना । चिहानमा गरगहना राखिदिने चलन कोलहरूले विकास गरेको मानिन्छ (उत्तराखण्ड का इतिहास, भाग २) । पूर्वका किरातीहरूका बस्तीमा जिमाला, सिमाला भनिने गरगहनाहरू राखिएका चिहान प्रशस्त थिए । तर, ती गरगहना बेचबिखन हुने भएपछि चिहानहरू लगभग नामेट गरिए । आक्कलझुक्कल बचेका यस्ता चिहानहरू मात्रै होलान् । थप अध्ययन नगरी ठोकुवा गर्न त सकिँदैन, तर यी चिहानहरूले किरात र कोलहरूबीच अन्तरघुलन भएको सम्भावना भने देखाउँछ ।
नौ, धनुकाँड । धनुषवाणको आविष्कार कोल जातिले नै गरेको हो (एसके चटर्जी, वैदिक एज) । किरातीहरूमा पितृसंस्कारहरू गर्दा धनुकाँड अनिवार्य चाहिन्छ । ज्यापूहरूमा पनि यो संस्कृति प्रचलित छ । सायद यो पनि कोलहरूकै प्रभाव हुनुपर्छ ।
दस, कपडा बुनाइ र कपास । कपडा बुनाइको सुरुवात पनि अस्ट्रिक अथवा प्रोटो–अस्ट्रिकहरूकै आविष्कार मानिन्छ (एसके चटर्जी, वैदिक एज) । काठमाडौंका नेवार र किरातीलगायतमा अहिले पनि कपासको धागोबाट कपडा बुन्ने परम्परा कायमै छ ।
...
जर्ज ग्रियर्सन, सुनीतिकुमार चटर्जी र गोपालसिंह नेपाली (द नेवार्स अफ नेपाल, सन् १९५९) ले सिङ्गै भोट–बर्मेली भाषामा मुन्डा भाषाको प्रभाव रहेको मानेका छन् । कोल (मुन्डा) भाषाको यसप्रकारको प्रभाव नदीनाला र ठाउँका नाम, गणनासम्बन्धी शब्द र क्रियापदमा टड्कारोसँग देख्न सकिन्छ–
एक, ‘ती’ जोडिएका नदीका नाम । माइकल विजेल (‘नेपलिज हाइड्रोनोमी’, नेपाल पास्ट एन्ड प्रिजेन्ट, सन् १९९३) ले नदीका नामका पछाडि ‘ती’ आउनुलाई भोट–बर्मेली भाषाको प्रभाव मानेका छन् । तर, अलेक्जान्डर कनिङ्घमले नदीको नामको पछाडि ‘ती, ता, दा’ आउनु भनेको भोट–बर्मेली भाषाको विशेषता होइन, यो स्पष्ट रूपमा कोल (मुन्डा) भाषाको विशेषता हो भनी ठोकुवा गरेका छन् (अलेजेन्डर कनिङ्घम, आर्किओलजिकल सर्भे अफ इन्डिया, सन् २०००, भोल्युम १४) । यस क्रममा उनले पूर्वी र मध्यभारतमा बस्ने मुन्डा, सन्थाल, हो, कुरी र सौर (सवर) जस्ता कोल (मुन्डा) भाषा बोल्नेहरूको क्षेत्रमा पाइने नदीका नाम उल्लेख गरेका छन्– रावति (संस्कृतमा ऐरावति), न्युङ्ती, झाङ्ती, पारति, लुङ्ति, स्पिन्ति । फेरि ‘गुमो गाउँको पानी’ भन्नेजस्तो अर्थमा गुमोति भनिएझैं ठाउँका नामसँग पनि ‘ती’ प्रयोग भएको पाइन्छ– कसियाति, मत्रेति, सुपेति, चुति, अन्द्रेति, चागाँओति, चहिति, उरेति, हामल्ति, बुरहति, घैल्ति, मन्याओति, खन्याओति, वाल्ति, तिदोङ, नङ्गाल्ति, खति, सेल्ति, नरेति, क्योक्ति, लिङ्ति ।
‘ती’ जोडिएका नदीनालाका नामहरू नेपालमा पनि प्रशस्त छन् । कमलप्रकाश मल्ल (फ्रम लिरेचर टु कल्चर) ले काठमाडौं उपत्यकामा ‘ती’ लागेका यस्ता थुप्रै खोलानालाको नाम उल्लेख गरेका छन् । जस्तो कि विसं ५७३ मा लिच्छवि अभिलेखमा उल्लेख भएको फर्पिङको मणिमति । विसं ७०५ को बलम्बुको पुत्ति । त्यस्ता अन्य नामहरू हुन्– सातुन्ति (चाँगु), धेलन्ति (बनेपा) । त्यस्तै निति, जौति जस्ता खोलानालाका नाम पनि काठमाडौं उपत्यकामा छन् ।
अर्को कुरा, काठमाडौं उपत्यकामा पानीको धारा भएका ठाउँलाई हिटी भन्ने प्रचलन छ । जस्तो कि मरुहिटी, ठहिटी, यङ्गलहिटी । संस्कृति तथा इतिहास अध्येता सौभाग्य
प्रधानाङ्गका अनुसार, नेपालभाषा (नेवार) मा झोल अथवा तरल पदार्थलाई बुझाउन ‘टि’ शब्द प्रयोग हुन्छ । भन्नुको मतलब के भयो भने मरुहिटी भनेको ‘मरु टोलको पानी’ भयो, ठहिटी भनेको ‘ठ टोलको पानी’ भयो, यङ्गलहिटी भनेको
‘यङ्गल टोलको पानी’ भयो । यसरी कोल भाषाको पानी/नदीलाई बुझाउने शब्द काठमाडौं उपत्यकामा ‘टी’ का रूपमा जीवित छ । पनौती सहरको ‘ती’ पनि यही अर्थमा रहेको हुनुपर्छ ।
पश्चिम नेपालको मगराँत क्षेत्रमा पनि ‘ती’ जोडिएका नदीनालाका नामहरू छन्– मिग्रिस्ती, घलेती, रिस्ती, कलेस्ती, सुरौती, निस्ती, लस्ती । पूर्वी नेपालमा ‘ती’ जोडिएका नदीनालाका नामहरू हुन्– खिम्ती, पलती, लेती, मिल्ती, डोल्ती । त्यस्तै रोसी खोलासँग मिसिने सानो खोला छ माम्ती । सिबी नाछिरिङ राईले बताएअनुसार, सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा फुलवाती र बहवाती खोला छन् । प्राज्ञ अमर तुम्याहाङका अनुसार, लिम्बूहरूले ब्रह्मपुत्र नदीलाई मुन्धुममा उम्रोति–सुम्रोति भनेर सम्बोधन गर्छन् ।
दुई, ‘ता, दा, दी’ जोडिएका नदीका नाम । भारतका कोल (मुन्डा) भाषा बोलिने क्षेत्रमा नामका पछाडि ‘दी’ आउने नदीहरू छन्– पद्दा/पट्दा, बहुदा, नर्मदा, दामुदा, मनदा, वार्दा, सर्दा (पहेँलो नदी), केन्दा (कालो नदी), दासान, तिस्ता/टिस्टा, प्रणिता (आर्किओलजिकल सर्भे अफ इन्डिया) । कनिङ्घमले कोल (मुन्डा) भाषामा पानीलाई बुझाउन ‘दा’, ‘दिर’ र ‘दी’ शब्द पनि प्रयोग हुने बताएका छन् । यस्तरी ‘दी’ जोडिएका नदीनाला पश्चिम र पूर्वी नेपालमा पनि पाइन्छन् । जस्तो कि मगराँत क्षेत्रका म्यान्दी, मर्स्याङ्दी, ङादी इत्यादि । गण्डकीकै पुरानो नाम गण्डी हो । त्रिशुली नदीको प्राचीन नाम सिह्लुति, सिह्लुतिखु हो । त्यस्तै पूर्वी नेपालमा छ टिस्टा ।
अंशुवर्माको एउटा अभिलेखमा ‘महेषीपीडा’ शब्द फेला परेको छ, जसमा भैंसीपालनको संरक्षण गर्ने कुरा उल्लेख छ (निरिश नेपाल, रोलम्ब, अप्रिल–जुन, १९८२) । यो एक शब्दले धेरै भनिरहेझैं लाग्छ । यो ‘डा’ प्रत्यय भैंसीपालनसँग जोडिएर आएको छ र ‘दा’ कोल (मुन्डा) भाषासँग मिल्दो छ । यो एक शब्दले पनि महिषपालहरू भनेका कोल (मुन्डा) हरू हुन् भन्ने प्रस्ट संकेत गरेको छ ।
काठमाडौं उपत्यकामा पनि ‘दी’ लागेका नदीहरू छन्– बृन्नदी (नक्साल), मेकन्दी, हुदी (फ्रम लिटरेचर टु कल्चर) । सुनकोसी नदीमा मिसिने एउटा खोलाको नाम छ वादी । ‘ती, दी’ जोडिएका नदीनालाका नाम पूर्वी नेपालमा पनि छन् । जस्तो कि धरानमा सेउती खोला छ । जस्तो कि दूधकोसीमा मिसिने लुम्दिङ, लोदिङ, तास्दिङ≤ मोलुङ खोलामा मिसिने पोक्तिङ (नेपलिज हाइड्रोनोमी) । पूर्वी नेपालका नदीनालाका नाममा चाहिँ ‘ती’ र ‘दी’ का पछाडि ‘ङ’ जोडिएका छन् । भोट–बर्मेली भाषामा माछालाई ‘ङा’ भनिन्छ । सम्भवतः माछा पाइने खोलाका नामपछाडि ‘ङ’ जोडिएको हुनुपर्छ ।
पश्चिम नेपालका धेरै सुनिएका ठाउँका नामहरू म्याग्दी, बैतडी अथवा काठमाडौंका प्राचीन स्थाननाम किसिपिडीमा पनि ‘दी, डी’ नै जोडिएको छ । पश्चिम नेपालमै लमजुङ र माथिल्लो मर्स्याङ्दीमा खुदी गाउँ छ । त्यसरी नै जाजरकोटमा तिलकखुदी नामको गाउँ छ ।
तीन, गाड भनेको खोलानाला । ‘बाटामी गाड पडन्छ’, लगभग ३० वर्षअघि तारानाथ शर्माको निबन्ध ‘घनघस्याको उकालो’ मा पढेको यो एक वाक्य अहिले पनि स्मृतिमा ताजै छ । यो ‘गाड’ जो कोल (मुन्डा) भाषासँग सम्बन्धित छ । मुन्डा भाषाभित्र पर्ने सन्थाली भाषामा नदीनालालाई बुझाउन ‘गड, गन्ड र गन्डक’ शब्द प्रयोग हुन्छ । जस्तो कि होगड । यो शब्द जस्ताको तस्तै खसान क्षेत्रका खोलानालाका नामका पछाडि प्रयोग भइरहेको छ– सुलिगाड, तिलागाड, गिरिगाड, लोहरेगाड, निलगढगाड, ईश्वरीगाड, रुनिघाटगाड, सुरनयागाड, लोलिगाड, लमुनिगाड, घट्टेगाड । नदीका नाम संस्कृतकरण भएका छन्, तर ‘गाड’ यथावत छ । माइकल विजेलले यसलाई भोटबर्मेली भाषामा मुन्डा भाषाको प्रभाव मानेका छन् ।
चार, कुरी (गणना) । उत्तर भारतका किसानहरूले गन्ती (गणना) गर्दा सीधै पचास नभनेर ‘दुई कुरी र दश’ भन्ने गर्छन्, सिधै साठी नभनेर ‘तीन कुरी’ भन्छन् । उत्तर भारतमा गणनाका लागि प्रयोग हुने यो ‘कुरी’ शब्दलाई जर्ज ग्रियर्सनले मुन्डा भाषाको बताएका छन् । मेरै गाउँका बाजेबजूहरू अहिलेसम्म पनि ‘कति वर्ष पुग्नुभयो’ भनेर सोध्दा म ‘तीन कोरी र आधा’ (७० वर्ष) पुगेँ अथवा ‘चार कोरी’ (८० वर्ष) नाघिसकेँ भन्दै हुनुहुन्छ ।
पाँच, जोम (क्रियापद) । विस्तृत अध्ययन गरे धेरै खुलस्त होला । यहाँ भाषाशास्त्रीहरूले भनेको कोल (मुन्डा) र भोट–बर्मेली भाषाबीच निकटता छ भन्ने संकेतसम्म गर्न किरात राईभित्र पर्ने भाषाका ‘खानु’ क्रियासम्बन्धी केही शब्द प्रस्तुत गरिएको छ । कोल (मुन्डा) भाषामा खानेकुरा ‘खानु’ लाई ‘जोम’ भनिन्छ (एस.के. चटर्जी, वैदिक एज) । यो क्रियापदसँग किरात राई भाषाका क्रिया शब्द मिल्दोजुल्दो देखिन्छ– जाम/जाच्वाम (वाम्बुले राई), जोनु/जुनु (दुमी राई), ज्योन्या (खालिङ राई), चामा (चाम्लिङ, बान्तावा) इत्यादि ।
...
यति मन्थनबाट भन्न सकिन्छ– गोपाल–महिषपाल भनेका न कमलप्रकाश मल्लले भनेझैं भोट–बर्मेली भाषीका पुर्खा हुन्≤ न बाबुराम आचार्य, ज्ञानमणि नेपाल, कुलचन्द्र कोइराला र मोदनाथ प्रश्रितहरूले भनेझैं खस–आर्यका पुर्खा । बरु डीआर रेग्मी र गोपालसिंह नेपालीले भनेझैं नेपाल र भारतका सर्वप्राचीन अस्ट्रोल जाति हुन् । अहिले स्वतन्त्र अस्तित्व कायम रहन नसके पनि उनीहरूको भाषिक–सांस्कृतिक प्रभाव भने जीवित छ । जुन विरासत इतिहासकार डा. जगदीशचन्द्र रेग्मी (प्राचीन नेपालको राजनीतिक इतिहास, २०५३) ले प्रयोग गरेको ‘पश्चिमका किरात’, ‘पूर्वका किरात’ पदावली सापट लिएर भन्ने हो भने पश्चिमका किरात (मगर, गुरुङलगायत), पूर्वका किरात (राई, लिम्बू, याक्खा, सुनुवार, थामी, हायु, जिरेल, सुरेल) र माझका किरात (नेवार, तामाङ, चेपाङ इत्यादि) हरूले थामिरहेका छन् ।