You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड

- रूपा गहतराज

(नेपालगन्ज) - कथित राजावादीहरूले ०६२/६३ को जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड गरेका छन् । राजतन्त्र उन्मूलन भएको १६ वर्षपछि नेपालगन्जको धम्बोजीचोकमा राजा वीरेन्द्रको सालिक राख्न जम्मा भएको समूहले सेतु विक चोक पुगेर सालिक तोडफोड गरेको हो ।
राजाको निरंकुशताविरुद्ध ०६२/६३ मा भएको देशव्यापी आन्दोलनका क्रममा नेपालगन्जमा पनि दिनहुँ विशाल प्रदर्शन भएको थियो । वैशाख ५ मा गणेशपुरमा जम्मा भएका प्रदर्शनकारीलाई लक्षित गरी प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो । त्यही क्रममा घाइते भएकी सेतु विकलाई उपचारका लागि अस्पताल लैजाँदालैजाँदै बाटोमै मृत्यु भयो ।
बाँके खजुराकी सेतु गणतन्त्र प्राप्तिको आन्दोलनमा सशक्त रूपमा सहभागी भएकी थिइन् । सडक आन्दोलनमा उत्रिएकी उनी ज्ञानेन्द्र चोकको आन्दोलनमा अग्रमोर्चामा थिइन् । जहाँ उनको ज्यान गयो । यही चोकको नाम नै सेतु विक चोक राखेर उनको सालिक स्थापना गरिएको थियो । उनका तीन सन्तानको पढाइ बीचमै छुट्यो । पति शेरबहादुर विक नेपालगन्जमा अटो चलाएर जीविका गर्छन् ।
सेतु र उनीजस्तै सहिद, घाइते र सचेत प्रदर्शनकारीको साहसले देश संघीय गणतन्त्रमा छ । तर, नेपालगन्जको धम्बोझीमा राजतन्त्र समर्थकको एउटा समूहले राजा वीरेन्द्रको सालिक पुनःस्थापना गर्न चाहेको थियो । तर बिनाअनुमति सालिक राख्न नपाइने भन्दै प्रहरीले रोकेपछि राजावादी कार्यकर्ताहरू अचानक सेतु विक चोक पुगेर सालिकमाथि प्रहार गरे । सालिकमाथि चढेरै तोडफोड गरेपछि मात्र भीड बाटो लागेको थियो ।
सालिक तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले उक्त घटनालाई ‘आवेगमा भएको प्रहार’ भनेका छन् । तर दलित अधिकारकर्मीले सेतुको सालिकमाथिको आक्रमण सम्पूर्ण दलित समुदायप्रतिको आक्रमण भनेका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रले दलित समुदायलाई अधिकार दिए पनि कार्यान्वयनका सवालमा राज्य अझै पनि उदासीन रहेको दलित अभियन्ता डिलबहदुर परियारको भनाइ छ, राज्यको आड पाएर दलित सहिदको सालिकमाथि आक्रमण गरिएको आरोप उनले लगाए । ‘अरू समुदायको सालिक भएको भए कसैले यो आँट गर्न सक्दैनथ्यो,’ उनले भने, ‘यो नियोजित ढंगले गरिएको प्रहार हो । खासमा दलित समुदायमाथिकै प्रहार हो ।’
नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेका अध्यक्ष हिमबहादुर सुनार र लुम्बिनी प्रदेश इन्चार्ज पुजन विश्वकर्माले विज्ञप्ति जारी गरी सहिद सेतु विकको सालिकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न मागसमेत गरिएको छ ।
नेपालगन्जका नवनिर्वाचित मेयर प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव डिल्लीप्रसाद बराल, नेकपा एसका सचिव दीपक जीएमलगायतले विज्ञप्तिमार्फत घटनालाई गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् । प्रमुख विष्टले सेतुको सालिक नगरपालिकाले मर्मत गर्ने बताए ।

मुख्य पृष्ठ

प्रेम, विवाह र पानी छोएको निहुँमा ४४ को ज्यान गयो

- प्रकाश धौलाकोटी

(काठमाडौं) - नेपाललाई छुवाछूतमुक्त घोषणा गरिएको शनिबार १६ वर्ष पूरा भएको छ । त्यस्तै नेपालले कानुनी रूपमा जातीय भेदभाव र छुवाछूत निषेध गरेको ५९ वर्ष र सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र बनेको ५१ वर्ष बितेको छ । तर, दलितमाथि हुने अत्याचारको शृंखला भने उस्तै छ ।
मुलुकको १४ प्रतिशत हिस्सा ओगट्ने दलित समुदाय अझै पनि छुवाछूतजस्तो अमानवीय अपमान र तिरस्कार सहन बाध्य छ । सरकारले जातीय विभेदलाई सामाजिक अपराधका रूपमा दण्डनीय बनाएपछि मात्रै जातीय विभेदकै कारण तीन गैरदलितसहित ४४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये अधिकांशको पछाडि अन्तरजातीय प्रेम र विवाह मुख्य कारण छन् ।
सन् २०२० मा राष्ट्रसंघले गरेको सर्वेक्षणअनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछूतबाट प्रताडित छन् । विभेद खेपेकामध्ये ७० प्रतिशतले समुदायमा समस्या नहोस् भनेर उजुरी गर्दैनन् ।

प्रहरीमा जातीय भेदभाव र छुवाछूतका मुद्दाको संख्या वर्षमा ५० पनि नाघ्दैनन् । मुद्दामा गए समाजमा समस्या हुने डर देखाउँदै अधिकांशमा प्रहरीले मिलापत्र गरेर पठाउने
गरेको छ ।
अधिवक्ता प्रकाश नेपाली छुवाछूतमुक्त घोषणापछि दलितमाथि हुने विभेद झन् भयावह बनेको बताउँछन् । ‘पहिले छुवाछूतमात्रै थियो, त्यो विभेद धारामा, मन्दिरमा देखिन्थ्यो । तर, अहिले विभेदका स्वरूप फेरिएका छन्, विभेदकै कारण धेरै दलितले ज्यान गुमाउनुपरेको छ,’ उनी भन्छन्, ‘अब हिजोको जस्तो छुवाछूतमात्रै छैन, विभेदका अनेक रूप छन् । जस्तो, अन्तरजातीय विवाह अस्वीकार, नेतृत्व अस्वीकार र नीतिगत रूपमै बहिष्करण जारी छ । पहिले प्रत्यक्ष विभेद हुन्थ्यो, अहिले अप्रत्यक्ष विभेद धेरै छन् ।’
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा छुवाछूतमुक्त घोषणापछि संविधान र कानुनले जातीय भेदभावलाई दण्डनीय बनाए पनि व्यवहारमा विभेद कायम रहेको बताउँछन् । ‘विभेदका अनेक रूप छन्, दलित समुदायको हरेक मान्छे ममाथि विभेद हुने हो कि भनेर हरेक पल त्रसित भएर हिँडिरहेको हुन्छ,’ उनी भन्छन्, ‘मै पनि कार्यक्षेत्रमा आफैंमाथि विभेद हुन्छ कि भनेर डराउँछु, मानसिक रूपमा सधैं दबाबमा हुन्छु ।’ दलित समुदायमाथि हुने विभेदका कारण राज्यले नै घाटा व्यहोर्नॅपरेको र त्यसको कुनै हिसाबकिताब नभएको उनको भनाइ छ ।
पूर्वसचिव एवम् अर्थशास्त्री मानबहादुर विकेका अनुसार दलितमाथिको जुन अपमान र गरिबी छ, त्यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत असर पारेको छ । ‘जबसम्म सरकार दलित समुदायमाथिको विभेद र छुवाछूतको अन्त्य गर्न तत्पर हुँदैन, तबसम्म न गरिबी सकिन्छ, न मुलुक समृद्ध बन्छ,’ उनले भने ।
सरकारी दस्ताबेजमा अब जातकै आधारमा हुने भेदभाव र छुवाछूतजस्तो कुप्रथा बाँकी छैन । तर, व्याप्त विभेदको अन्त्य गर्न सरकारले कुनै चासो देखाएको छैन । सरकारले जारी गरेको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम तथा बजेटमा जातीय भेदभाव र छुवाछूत अन्त्य
गर्ने कार्यक्रम समेटिएका छैनन् । लेखक एवम् विश्लेषक हीरा
विश्वकर्मा भन्छन्, ‘सरकारले यो वर्षमात्रै होइन, छुवाछूतमुक्त घोषणापछि कुनै पनि बजेटमा जातीय भेदभाव हटाउने खालका कार्यक्रम र बजेट ल्याएको छैन ।’
सरकारले ०६३ जेठ २१ गते छुवाछूतमुक्त घोषणापछि ०६४ मा दलितलाई निजामती सेवामा आरक्षणको व्यवस्था गर्‍यो । ०६८ मा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन जारी गर्‍यो । तर, शताब्दीऔंसम्म कानुनी रूपमै लादिएको छुवाछूत हटाउन बजेट र कार्यक्रम भने
छुट्याएन । ‘सरकारले कानुन बनायो, तर कानुनको प्रचारप्रसार गरेन । छुवाछूत अन्त्य भएको घोषणा गर्‍यो । तर, छुवाछूत गर्नु हँॅदैन, यो अपराध हो भनेर गाउँ–गाउँसम्म जसरी सचेतना फैलाउनुपर्ने हो, त्यो गरेन,’ विश्वकर्मा भन्छन्, ‘बरु कागजी घोषणा गरेर दलित समुदायलाई अलमल्याउने, व्यवहारमा छुवाछूतलाई प्रोत्साहन गर्ने काम गरिरहेको छ ।’ राज्य सञ्चालनमा रहेका सबै व्यक्तिहरू नै विभेदकारी सोचबाट ग्रसित भएका कारण यतिका लामो समयसम्म पनि परिवर्तन आउन नसकेको उनको भनाइ छ ।
दलितका लागि अहिलेसम्म ल्याइएका सबै कार्यक्रम वितरणमुखी मात्रै छन् । संघ, प्रदेश र स्थानीय सरकार दलितलाई बजेट र अधिकार दिन तयार छैनन् । राष्ट्रिय दलित आयोगको सर्वेक्षणअनुसार पहाडका ३६.७ र तराईका ४१.४ प्रतिशत दलितसँग घर बनाउने जमिन नै छैन । सरकारले आगामी तीन वर्षभित्र दलितलाई आवास दिने भनेर घोषणा गरेको छ, तर बजेट विनियोजन भएको छैन । मुलुकको निरपेक्ष गरिबी दर १६ प्रतिशतमा झरेको छ । तर, दलित समुदायको गरिबी ३५ प्रतिशत छ । ‘कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै गरिबी छ, किनकि त्यहाँ दलितको जनसंख्या धेरै छ,’ पूर्वसचिव विके भन्छन्, ‘सरकारले गरिबी घटाउने लक्ष्य लिएको छ, तर दलितको जीवनस्तर उकास्ने कार्यक्रममा बजेट लगाउँदैन । अनि कसरी गरिबी दर माथि उठ्छ ? जबसम्म सरकारले दलितलाई लगानी गर्दैन, तबसम्म गरिबी मासिँदैन ।’
सरकारले छुवाछूत अन्त्य र दलित सशक्तीकरणका कार्यक्रम ल्याए पनि तिनको कार्यान्वयन नहुने समस्या छ । ०६५ माघ १२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका नाममा सम्बोधन गर्दै केन्द्रदेखि गाविसस्तरसम्म छुवाछूत निगरानी केन्द्र स्थापना गर्ने घोषणा गरेका थिए । उनको सम्बोधनमा छुवाछूत अपराध हेर्ने छुट्टै इजलास स्थापनाको कुरासमेत समेटिएको थियो । तर, त्यो अहिलेसम्म घोषणामै सीमित छ । अहिले पनि दलित सांसद र अधिकारकर्मीले त्यही माग अघि सारिरहेका छन् । सरकारले गत कात्तिकमा दलितमाथि हुने अन्यायलाई विशेष सम्बोधन गर्न नेपाल प्रहरीमा दलित सेल स्थापना गर्न भनेको थियो । तर, प्रहरीले त्यस्तो दलित सेल अहिलेसम्म बनाएको छैन ।
छुवाछूतलाई दण्डनीय बनाएर ऐन जारी भएपछि प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय छुवाछूत उन्मूलन समिति गठन हुने प्रावधान बन्यो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले केही बैठक बसाए पनि त्यसपछि निष्क्रिय छ । ०७३ सालमा जातीय भेदभाव र छुवाछूत अन्त्य तथा दलित अधिकार प्रवर्द्धनसम्बन्धी पुनः कार्यविधि आयो । कार्यविधिले छुवाछूत अन्त्य गर्ने अभियान चलाउन प्रधानमन्त्रीकै संयोजकत्वमा उच्चस्तरीय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समन्वय समितिको व्यवस्था गरेको छ । तर, ती समिति अहिलेसम्म गठन नै भएका छैनन् ।

भूमिकाविहीन विकास समिति
छुवाछूतको अन्त्य र दलित सशक्तीकरणका लागि ०५४ मा स्थानीय विकास मन्त्रालयअन्तर्गत गठन भएको उपेक्षित, उत्पीडित तथा दलित वर्ग उत्थान समिति स्थापना पाँच वर्षदेखि भूमिकाविहीन छ । समितिको कार्यालय भाडा र कर्मचारीले तलब भत्ता खाइरहेकै छन् । तर, समितिको कार्यालयलाई कार्यक्रमिक बजेट दिएको छैन । समितिले दलित विद्यार्थीलाई छात्रवृत्ति, आयआर्जन, सचेतना, जागरणलगायत कार्यक्रमहरू सञ्चालन गर्ने गरेको थियो ।
प्रतिनिधिसभा सदस्य मीन विश्वकर्मा अब विकास समिति खारेज गरेर दलित विकास परिषद् गठन गर्नुपर्ने माग गर्छन् । ‘विकास समितिको कार्यक्षेत्र सीमित छ, त्यतिले मात्रै दलितको उत्थान र सशक्तीकरण सम्भव छैन,’ उनले भने, ‘हालै सर्वोच्च अदालतको आदेशबमोजिमको काम गर्ने गरी दलित विकास परिषद् गठन हुनुपर्छ ।’
बादी उत्थान समितिको अवस्था पनि पनि उस्तै छ । आमाको नाममा जन्मदर्ता र नागरिकता, छुवाछूतको अन्त्य, स्थायी बसोबास, यौन पेसाको अन्त्य र निःशुल्क शिक्षालगायतका माग राख्दै बादी महिलाले ५ भदौ ०६४ मा सिंहदरबारअघि अर्धनग्न प्रदर्शन गरेका थिए । त्यसपछि भएको सहमतिबमोजिम ०६९ सालमा सरकारले स्थानीय विकास मन्त्रालयअन्तर्गत बादी समुदाय उत्थान समिति गठन गर्‍यो । तर, पाँच वर्ष बित्न नपाउँदै समिति योजना, कार्यक्रम र बजेटविहीन छ । सरकारले आर्थिक वर्ष ०७४/७५ देखि बजेट र कार्यक्रम दिएको छैन । विकास समितिका कर्मचारीले तलब खानेबाहेक कुनै काम छैन ।
सुदूरपश्चिम प्रदेशमा निर्वाचित बादी समुदायकै पहिलो सांसद उमा बादी भन्छिन्, ‘संविधान र कानुनले समेटे । तर, सरकारले विगतमा भएका कार्यक्रमसमेत कटौती गरेर वादीलाई पुरानै अवस्थामा फर्काउने नियत देखाएको छ ।’ नेपालगन्ज, घोराही र तुलसीपुरमा बादीको बाक्लो बस्ती छ । नेपालमा ९ हजार बादीहरू छन् ।

बनेन दलित सेल
जातीय भेदभाव र छुवाछूतका मुद्दामा पीडितको पहिलो गुनासो हुन्छ– प्रहरीले जाहेरी नलिएको । त्यही गुनासो सम्बोधन गर्न गृहमन्त्री बालकृष्ण खाँणले गत कात्तिक ८ गते नेपाल प्रहरीलाई दलित सेल गठन गर्न निर्देशन दिएका थिए । तर, अहिलेसम्म दलित सेल बनेको छैन । त्यसो त छुवाछूत जोडिएका ठूला आपराधिक घटनामै पनि प्रहरीले पीडितको उजुरी लिन आनाकानी गरेको पुष्टि भएपछि संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले २० जेठ ०७७ मै सरकार र नेपाल प्रहरीका अधिकारीलाई बोलाएर दलित सेल स्थापना गर्न निर्देशन दिएको थियो ।
अधिकारकर्मीहरू दलित मुद्दामा प्रहरी संवेदनशील नभएको गुनासो गर्छन् । ‘प्रहरीले दलित समुदायमाथि हुने जातीय उत्पीडनको मनोविज्ञानलाई बुझ्दैन, अहिले जति उजुरी परेका छन्, सबैजसो घटनामा उजुरी गर्नकै लागि पनि दलितले धर्ना कस्नुपर्ने स्थिति छ,’ सांसद पार्वती विशुंखे भन्छिन्, ‘प्रहरीभित्र दलित सेल गठन हुँदा त्यस्तो संवेदनशीलता बुझेको जनशक्ति तयार गरौं, जसले विभेदका घटनामा जाहेरी दिन प्रोत्साहन गरोस्, अनुसन्धान र कानुनी प्रक्रियामा बाधक होइन, सहयोगी बनोस् ।’ पहिलेभन्दा अवस्था सुध्रिए पनि दलितहरू पाइलैपिच्छे विभेद भोग्न बाध्य रहेको उनी बताउँछिन् । ‘सबैलाई उजुरी गर्नुपर्छ भन्ने थाहै छैन, हामी त्यस्तो अवस्थामा पीडितलाई कानुनी ज्ञान दिएरसमेत विभेदविरुद्ध न्याय दिलाउने प्रहरी सेल खोल्न भनेका हौं । तर, त्यसको कुनै सुनुवाइ भएन,’ उनले भनिन् ।
सन् २०२० मा संयुक्त राष्ट्रसंघले गरेको सर्वेक्षणअनुसार जातीय विभेद र छुवाछूत खेपेकामध्ये ७० प्रतिशतले समुदायमा समस्या नहोस् भनेर विभेदविरुद्ध उजुरी नै गर्दैनन् । जो विभेदविरुद्ध उजुरी गर्न नेपाल प्रहरीसम्म पुग्छन्, प्रहरीले तिनको उजुरी लिँदैन । तर, नेपाल प्रहरीले भने अलग्गै दलित सेल गठन गर्नुपर्ने आवश्यकता देखेको छैन । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी अहिलेसम्म अलग्गै दलित सेल स्थापना नभएको स्वीकार्छन् । ‘निर्देशन दिने निकायले आदेश त दिए, तर त्यो सुझबुझपूर्ण छैन । सेल गठन गर्ने भनेर मात्रै हँॅदैन, त्यसका लागि उचित जनशक्ति र पूर्वाधार चाहिन्छ,’ उनी भन्छन्, ‘देशभर छुट्टै दलित सेल चलाउन हरेक कार्यालयमा पूर्वाधार र जनशक्ति दुवै व्यवस्थापन गर्ने कुरा सहज छैन । दलितका लागि छुट्टै सेल बनाउँदा भोलि आदिवासीले छुट्टै भन्ला, राउटेले माग्ला, माझीले माग्ला, हामीले क–कसका लागि कतिवटा सेल बनाउने ?’
सरकारले छुवाछूत मुद्दालाई सरकारवादी तथा फौजदारी मुद्दाका रूपमा सूचीकृत गरेको छ । ऐनले जातीय भेदभाव र छुवाछूतको कसुर गर्नेलाई एक महिनादेखि तीन वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर, अहिलेसम्म छिटपुट मुद्दामा बाहेक दोषीलाई कैद सजाय भएको छैन । छुवाछूतका मुद्दामा अदालतले पनि थोरै जरिवाना र क्षतिपूर्ति मात्रै तिराउने गरेको देखिन्छ ।
अधिवक्ता मोहन साशंकर जातीय भेदभाव र छुवाछूतका मुद्दामा प्रहरीले असहयोग गर्ने गरेको बताउँछन् । ‘प्रहरीले प्रभावकारी अनुसन्धान र प्रमाण संकलन गर्दैन, जसकारण छुवाछूतको मुद्दामा प्रमाण नै पुग्दैन, आधाभन्दा धेरै मुद्दामा पीडकले सफाइ पाउँछन्,’ उनले भने । जातीय विभेद र छुवाछूतसम्बन्धी कसुर हाल सरकारवादी र फौजदारी मुद्दा बन्छन् । यस्ता मुद्दामा प्रहरी र सरकारी वकिलले मुद्दाको अनुसन्धान र प्रमाण जुटाउने काम गर्छन् । प्रहरी र सरकारी वकिल नै पीडकको पक्षधर बनेर काम गरिदिँदा पीडितलाई न्याय पाउन सकस परेको अधिवक्ता साशंकर दाबी गर्छन् । तथ्यांक पनि त्यस्तै छ, पछिल्लो दशकमा अदालतसम्म पुगेका मुद्दामा कि त पीडकले सफाइ पाएका छन्, कि जरिवानामात्रै गरेर छोडिएको छ ।
आर्थिक वर्ष ०६६/६७ देखि ०७७/७८ सम्म जिल्ला अदालतहरूले ५ वटा मुद्दामा मात्रै न्यूनतम कैद सजाय तोके भने उच्च अदालतबाट २ मुद्दामा कैद सजाय भएको छ । जबकि यो अवधिमा मुद्दाको लगत ४ सय २२ थियो । ‘जबसम्म अनुसन्धान अधिकारीले मुद्दाको संवेदनशीलता बुझेर प्रमाण जुटाउँदैनन्, तबसम्म जातीय भेदभावको मुद्दामा प्रमाण पुग्दैन, त्यो अजित मिजारको मुद्दामा होस् वा नवराज विकहरूकै मुद्दामा,’ अधिवक्ता साशंकर भन्छन्, ‘अजितको मुद्दामा उच्च अदालतबाट पनि सफाइ भइसक्यो । नवराजको मुद्दामा पटक–पटक गरेर ११ जना छुटी नै सके । यसबाट हाम्रो न्यायालय कस्तो छ भनेर छर्लंग हुन्छ ।’


जातीय विभेदले ज्यान गुमाउनेहरु
०६८
जयवीर टमटा (कालीकोट)– अन्तरजातीय विवाह,
मनविरे सुनार (कालीकोट)– चुलो छोएको निहुँ,
सेते दमाई (दैलेख)– अन्तरजातीय प्रेम,
शिवशंकर दास (सप्तरी)– अन्तरजातीय विवाह
०६९
रामबहादुर सार्की (बर्दिया)– गिलास छोएको निहुँ
०७०
संगीता परियार (तनहुँ)– जातीय विभेद
झुमा विक (ताप्लेजुङ)– जातीय विभेद
०७१
राजेश नेपाली (पर्वत)– दाल छोएको निहुँ
०७३
अस्मिता सार्की र ईश्वर भट्टराई (झापा)– अन्तरजातीय प्रेम,
अजित मिजार (काभ्रे)– अन्तरजातीय प्रेमविवाह,
लक्ष्मी परियार (काभ्रे)– बोक्सीको आरोप
०७५
मना सार्की (कालीकोट)– जातीय विभेद,
माया विक (कैलाली)– बलात्कारपछि हत्या,
श्रेया सुनार (कास्की)– बलात्कारपछि हत्या,
द्वितिया रसाइली (धनुषा)– बलात्कारपछि हत्या,
रूपमतीकुमारी दास (मोरङ)– बलात्कारपछि हत्या,
संगीता विश्वकर्मा (उदयपुर)– अन्तरजातीय प्रेम
०७७
नवराज सुनार, सन्दीप विक, लोकेन्द्र सुनार, गणेश बुढा, गोविन्द शाही र टीकाराम सुनार (जाजरकोट)– अन्तरजातीय प्रेम,
सम्झना कामी (बझाङ)– बलात्कारपछि हत्या,
सुमन विक (उदयपुर)– अन्तरजातीय प्रेम,
अंगिरा पासी (रूपन्देही)– बलात्कारपछि आत्महत्या,
निर्मला पहराई (कैलाली)– अन्तरजातीय प्रेम,
सुकु परियार (तनहुँ)– अन्तरजातीय विवाह,
घनश्याम बोगटी (गोरखा)– अन्तरजातीय प्रेम,
श्यामलाल राम (सिरहा)– अन्तरजातीय विवाह
०७८
भीमबहादुर विश्वकर्मा (चितवन)– जातीय विभेद,
नीरु विक (कालीकोट)– बलात्कारपछि हत्या,
अमृता सदा (महोत्तरी)– बलात्कारपछि हत्या,
मनीषा सुनार (सुर्खेत)– बलात्कारपछि हत्या,
सावित्रीकुमारी महरा (सिरहा)– जातीय विभेद,
सन्तलाल पासवान (सप्तरी)– जातीय विभेद,
संगम ठटाल (भोजपुर)– अन्तरजातीय प्रेम,
ज्योति पासवान (सप्तरी)– अन्तरजातीय प्रेम,
सिर्जना सुनार (अर्घाखाँची)– अन्तरजातीय प्रेम,
मैसरा परियार (सुर्खेत)– अन्तरजातीय प्रेम,
बिना विक (कास्की)– अन्तरजातीय प्रेम,
प्रवीन विक (गोरखा)– अन्तरजातीय प्रेम,
मीरा परियार (नुवाकोट)– अन्तरजातीय प्रेम

मुख्य पृष्ठ

घाँस काट्न जानै डर

- रमेशकुमार पौडेल

(चितवन) - चितवन राष्ट्रिय निकुञ्ज आडको वनमा घाँस काट्न गएकी राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाया तामाङलाई गत सोमबार बाघले आक्रमण गरेर ज्यान लियो । त्यसको साता दिनअघि जेठ ८ मा निकुञ्ज आडको बाटुली पोखरी वनमा घाँस काट्नै गएकी भरतपुर–१३ पटिहानीकी ५२ वर्षीया फूलकुमारी बोटेको पनि बाघको आक्रमणबाट मत्यु भएको थियो । गत वैशाख १८ गते पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा नारायण दाहालको ज्यान गुमाए । उनी पनि घाँस काट्नै गएका थिए ।
‘हाम्रो सामुदायिक वनभित्र मात्रै साउनयता बाघ आक्रमणका चार घटना भए, तीन जनाको त मृत्यु नै भयो,’ कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने । घाइते भएकाको उपचारका लागि ८ लाख ५४ हजार रुपैयाँ खर्च गर्नुपरेको उनले बताए ।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार ०७८ वैशाखयता विभिन्न जंगली जनावरले आक्रमण गर्दा २४ जनाको ज्यान गएको छ । तीमध्ये १४ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।
यो तथ्यांक ०७८ असार ७ मा सौराहा जनकौली मध्यवर्ती वनमा घाँस काट्न गएकी महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएपछिको हो ।
यो वर्ष बाघले आक्रमण गरेका घटना सबै जंगलमै भएका छन् । निकुञ्जका सूचना अधिकारी तिवारी बाघ गाउँमा आएर मानिसको ज्यान लिएको घटना एउटा पनि नभएको दाबी गर्छन् । घाँस काट्न जंगल गएका बेलामा बाघले आक्रमण गरेर आठ जनालाई मारेको निकुञ्जको तथ्यांकमा छ । अरू घटनामा पनि अन्य कामले जंगलमा गएका बेलामा नै आक्रमणमा परेको सूचना अधिकारी तिवारीले बताए । ‘स्थानीयहरू घाँस–दाउरा गर्न जंगल जाने चलन छ । पहिला जहाँ–जहाँ पुग्थे, अहिले पनि त्यतै जान्छन् । तर बाघले त्यो ठाउँलाई बासस्थल बनाएको हेक्का नराख्दा यस्ता दुःखद घटना भएका हुन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेले भने । उनले बाघको विषयमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।
संख्या बढेका कारण बाघ
पहिला नबसेको वन क्षेत्रमा आउन थालेको संरक्षणकर्मीहरूको आकलन छ । ‘हामीले घाँस–दाउरा गर्न निश्चित ठाउँ र समय तोकेका
छौं । तर मान्छेहरूको बाध्यता छ । घाँस–दाउरा खोज्दै–खोज्दै अलि पर पनि जानुपरेको छ । तोकेको ठाउँभन्दा पर जाँदा घटना हुने गरेको देखेको छु,’ कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष श्रेष्ठले भने ।

कुमरोज वनमा पछिल्लो समय पर्यटकहरूको चहलपहल बढेको छ । वन जोगिएका कारण बाघका आहारा प्रजातिहरू चित्तल, बँदेल पनि बढेका छन् । आहारा बढेपछि चितवन निकुञ्जका बाघ मध्यवर्ती सामुदायिक वनतिर आउने गर्छन् । ‘बाघ आउनु पर्यटनका लागि राम्रो हो । तर स्थानीयलाई त अभिशाप जस्तै बन्यो । स्थानीयलाई के–कसरी जोगाउने हो ? हामीलाई समस्या परेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
०७६ मा बाघ आक्रमणमा परेर ज्यान गएको एउटा पनि घटना थिएन । ०७७ मा चार जनालाई बाघले आक्रमण गरेर ज्यान गएको तिवारीले बताए । पहिला विरलै जस्तो हुने बाघ आक्रमणका घटना एक्कासि बढ्न थालेको भन्दै संरक्षणकर्मीहरू चिन्तित देखिन्छन् । बाघको संख्या बढ्नु संरक्षणका दृष्टिले सुखद भए पनि स्थानीय जंगल जानुपर्ने बाध्यता नहट्दा आक्रमणका घटना बढेका छन् । ‘ज्यानै जाने गरेर पहिला यस्तो आक्रमणका धेरै घटना हुँदैन थिए । कुनै वर्ष शून्य हुन्थ्यो । कुनै वर्ष चार–पाँच वटा पनि हुन्थे । औसतमा बाघका कारणले वर्षमा दुई–तीन जनाले ज्यान गुमाउने घटना हुन्थे । यो वर्ष अलि धेरै नै घटना भए,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालय प्रमुख लामिछानेले भने ।

Page 2
समाचार

अन्तरजातीय बिहे : सन्ततिलाई पनि आफन्तको ढोका बन्द

- कान्तिपुर संवाददाता

 

हुम्लाको अदानचुली गाउँपालिका–३ फडेरा गाउँका गोर फडेराले १५ वर्षअघि सोही गाउँकी उचाँटी धियाँलसँग १६ वर्षको उमेरमा विवाह गरे । गोठाला जाँदाजाँदै झाँगिएको प्रेमलाई विवाहमा परिणत गरे । तर उनीहरूको विवाह घरपरिवार र समाजलाई मान्य भएन । जातका आधारमा गरिने छुवाछूतका कारण उनीहरूको वैवाहिक जीवनमा दुःखको आँधी आयो ।
परिवारले नस्वीकारेपछि उनीहरू छुट्टै बस्न थाले । ‘हामीलाई घरमा पस्न पनि दिइएन,’ उनले भने, ‘हामीले अपराध नै गरेको जसरी घरबाट निकालियो तर हामीले आवाज उठाउन सकेनौं र छुट्न पनि सकेनौं अनि छुट्टै बस्यौं ।’ छुट्टै बसे पनि बाटोमा हिँड्दासमेत छिःछिः र दुरदुर गर्ने आफन्तको कमी भएन । ‘म त तल्लो जातको छोरी थिएँ र पानी चलेन,’ धियाँल भन्छिन्, ‘आफ्नै छोरालाई पनि अछूत भनेर घरबाट निकाले । उहाँको घरका लागि त हामी मरेजस्तै भयौं ।’
अहिले दुई सन्तानका बाबुआमा बनेका फडेरा र धियाँललाई सुरुका केही वर्ष अपमान सहेर बाँच्न निकै गाह्रो भयो । ‘सुरुमा त नबाँचौं जस्तो पनि भयो,’ उनले भनिन्, ‘तर जसका लागि सबैथोक त्यागेर आएँ, ऊ आफ्नो साथमा छ भने किन मर्ने ? भनेर हामी एक्लै संघर्ष गर्ने आँट गर्‍यौं । कृषि पेसा गरिरहेका छौं, अहिले हामी यसैमा रमाएका छौं ।’
अन्तरजातीय विवाहकै कारण समाजबाट अपमान र परिवारबाट घृणा भोग्नेहरूको सूचीमा फडेरा दम्पती एक्ला छैनन् । जुम्लाको चन्दननाथ नगरपालिका–९ तलिओमकी कौशिला नेपालीले ०६७ मा चन्दननाथ–८ रोकायवाडाका रामबहादुर रोकायसँग प्रेम विवाह गरिन् । उनीहरूको प्रेम परिवारले स्विकारेन । माइती पक्षले कुनै आपत्ति नजनाए पनि रामबहादुरको घर पक्षले उनीहरूलाई स्विकारेन । परिवारले नै नस्वीकारेपछि परिवार र आफन्तजनको उपस्थितिमा धुमधामले बिहे गर्ने राम र कौशिलाको रहर अधुरै रह्यो । उनीहरूले प्रेमको बदलामा समाजबाट अपमान खेपे ।
‘घर पनि भित्र्याउनु भएन,’ कौशिलाले भनिन्, ‘छोरा जन्मिएर तीन वर्षको हुन्जेलसम्म पनि घरपरिवारले हामीलाई घर बोलाएनन् ।’ उनीहरूले आफ्नै घरमा पाइला राख्न वर्षौं कुर्नुपर्‍यो । परिवार र समाजबाट अपमान खेपेका उनीहरूले गाउँ नजिकैको चन्दननाथ–४ मा कोठा भाडा लिएर बसे । बिहेपछि कौशिलाले केही समय स्थानीय सहकारी र रेडियोमा काम गरिन् । अहिले स्थानीय लेकाली कृषि सहकारीमा काम गर्ने उनले आफ्नै मिहिनेतले गाउँमै छुट्टै घर बनाएका छन् । समयक्रममा उनीहरूमाथि परिवारले गर्ने घृणा र अपमानको पारो त घट्यो तर पूरै निमिट्यान्न भइसकेको छैन । ‘चाडपर्वमा भने हामी जान्छौं,’ उनले भनिन्, ‘तर परिवारबाट सम्मान र सहयोग पाएका छैनौं, राम्रोसँग बोलचाल पनि हुँदैन ।’
प्रदेश सरकारका अनुसार कर्णालीको कुल जनसंख्याको २३ प्रतिशत संख्या दलितको छ । जातीय रूपमा सबै समुदायको जनसंख्यालाई अलग गरी हेर्ने हो भने प्रदेशको जम्मा जनसंख्यामा दलित समुदायको संख्या सबैभन्दा बढी हो । ठूलो संख्यामा रहेका दलित समुदाय भने जातीय छुवाछूतको सिकार मात्रै भइरहेका छैनन्, अन्तरजातीय विवाहका कारण समाजबाटै बहिष्कारको सिकार पनि हुनुपरेको छ । कतिपय जोडी त निरन्तरको विभेदकै कारण अलग्गिनुसमेत परेको छ ।
कथित माथिल्लो जात भनिनेसँग विवाह गरेका कारण जाजरकोटको भेरी नगरपालिका–२ पोखराका पदम बुढा र जानुका विकको १३ वर्षपछि बिछोड भयो । अन्तरजातीय विवाह गरिसकेपछि परिवार र समाजको अपमान उनीहरूले खेप्न सकेनन् । विवाहपछि भारत भागेका उनीहरू तीन सन्तानसहित १३ वर्षपछि घर फर्किए । तर पदमको परिवारले जानुकालाई दलित भएकै कारण स्वीकार गरेन । घरपरिवारको अस्विकारोक्तिपछिका दिनमा उनीहरूबीच समझदारी भत्किँदै गयो, जसलाई परिवारकै सदस्यले मलजल गरे । अन्ततः उनीहरूको सम्बन्धविच्छेद भयो । अहिले जानुका तीन छोराछोरीसहित जीवन बिताइरहेकी छन् ।
अधिवक्ता गीता कोइराला जातीय भेदभाव तथा कसुर सजाय ऐन प्रभावकारी रूपमा कार्यान्वयन भए छुवाछूत तथा विभेदका घटनामा कमी आउने बताउँछिन् । ‘कानुन बने पनि मान्छेको चेतनास्तरमा परिवर्तन नहुँदा यस्ता घटना उस्तै छन्,’ उनी भन्छिन् । उनको बुझाइमा कतिपय घटना मिलापत्रमै टुंगिने र कतिपयमा राजनीतिक दबाबले गर्दा दोषी उम्किने गर्नाले छुवाछूतजस्तो सामाजिक अपराधले प्रश्रय पाइरहेको छ ।
कर्णाली प्रदेशसभाका सांसद दानसिंह परियारले नीतिगत अपूर्णताले कर्णालीमा छुवाछूत अन्त्य हुन नसकेको बताए । जातीय छुवाछूतविरुद्धको विधेयक पनि प्रदेशसभामा दर्ता भए पनि अधिकार क्षेत्रभित्र नपर्ने भन्दै फिर्ता भएको उनले गुनासो गरे । ‘विधेयक बनाउनका लागि हामी छलफल चलाइरहेका छौं,’ उनले भने, ‘यसपटक पनि विधेयक दर्ता नभए हामी प्राइभेट विधेयक दर्ता गर्ने तयारीमा छौं ।’
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा जातीय छुवाछूत तथा भेदभावविरुद्ध १६ वटा मुद्दा मात्रै दर्ता भएका छन् । प्रहरी नायब निरीक्षक झक्क पौडेलका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव ०७७/७८ सम्म १६ मुद्दा दर्ता भएका हुन् । आव ०७५/७६ मा दैलेखका ३, सल्यानका २, सुर्खेत र कालीकोटका एक/एक वटा मुद्दा गरी सात वटा मुद्दा दर्ता भएका छन् । आव ०७६/७७ मा रुकुम पश्चिम, सल्यान र कालीकोटका एक/एक वटा मुद्दा दर्ता भएका छन् । आव ०७७/७८ मा सुर्खेतका ३, जाजरकोट, जुम्ला र कालीकोटका एक/एक वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारा मैदानका पूर्णमान श्रेष्ठ १५ वर्षदेखि आफ्नो मूल घरबाहिरै बसिरहेका छन् । समाजले करार गरेको उनको अपराध यत्ति थियो, दलितकी छोरी बिहे गर्नु । गोठालो र घाँसपात गर्न जाँदाजाँदै उनको मन छिमेकी सरिता नेपालीमा बस्यो । प्रेमको लहरो झाँगिँदै गएपछि उनीहरूले भागी बिहे गरे । त्यसपछि त उनी घर र समाजकै आँखामा तारो भए ।
उनीमाथि कतिसम्म विभेद गरियो भने, आमाको मृत्यु हुँदा उनका दाजुहरूले शव छुन दिएनन् । किरिया गर्न बारीमा छुट्टै टहरो बनाएर बस्न बाध्य भए । त्यो पनि समुदाय, सञ्चारकर्मी, र गाउँपालिकाको दबाबपछि । उनकी श्रीमती सरिताले भनिन्, ‘घरमा बस्नै नसक्ने भएपछि बाहिर जिल्लामा गएर बस्नुपर्‍यो ।’
एक वर्षयता भने पूर्णमान वैदेशिक रोजगारीमा छन् । सरिता भने अहिले चिर्तुङधारा बगनासस्थित माइतीमा बसेकी छन् । ‘श्रीमान्को घरमा नआए हुन्थ्यो भन्ने नै थियो परिवारमा,’ उनले भनिन्, ‘अहिले अंश माग गरे पनि पाएका छैनन् । जति दिएका थिए, त्यो पाएका पनि छैनन् ।’ पूर्णमान–सरिताका १५ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् । उनीहरू पूर्णमानका दाजुभाइका छोराछोरीसँगै स्कुल पनि जान्छन् तर उनीहरूलाई मूलघरको आँगन खुला छैन । सरिताले भनिन्, ‘मलाई अरू केही दुःख भएन, समाजका अरूबाट पनि त्यस्तो केही छैन । जे छ परिवारबाटै समस्या छ ।’
गुल्मीको गुल्मीदरबार–२ घर भई तानसेनमा पत्रकारिता गर्दै आएका सुवास बीसीको कथा पनि उस्तै छ । बीसीले पाँच वर्षअघि रिब्दीकोट–६ ठिमुरेकी अस्मिता ज्ञवालीसँग प्रेम विवाह गरे तर परिवारले अझै स्विकारेको छैन । ससुरालीमा ढोगभेट फुकिसकेको छैन । उनले भने, ‘टीकाटाला गर्ने गरी अझैसम्म हामीलाई बोलाउनुभएको छैन ।’ पछिल्लो समय बुटवल बस्दै आएका उनलाई छोराछोरीले मामाघर जाने भन्दा उनको मन कुँडिन्छ । ‘छोराछोरीले मावल जाम भन्दा उनीहरूलाई के भनेर बुझाउने भन्ने हुन्छ,’ उनले भने ।
त्यसो त अस्मितालाई भेट गर्न कहिलेकाहीँ उनकी आमा घर नजिक आउँछिन् तर समाजले के भन्ला भन्ने डरले उनी छोरीको घर छिर्दिनन् । भाइबहिनी पनि दिदी भेट्न आउँछन् तर घरमा लैजान कसैले सकेका छैनन् । ‘मन त होला तर जान सक्दिनन्,’ सुवासले भने, ‘समस्या भनेको समाजकै रहेछ ।’
अन्तरजातीय विवाहको असर यस्तो दम्पतीका छोराछोरीसम्मै सर्दो रहेछ । जस्तो कि, धरानका रणध्वज लोहार र माया कटवाल दम्पतीको घरमा देखियो । २०५७ मा धरानमा गैरसरकारी संस्था दलित नेटवर्क र तत्कालीन पाँचकन्या गाविसले १० जोडीको सामूहिक अन्तरजातीय विवाह गराएको थियो । तिनैमध्ये थिए, रणध्वज र माया । धरान–६ पानमाराको घोपाली टोलका रणध्वजको र बराहक्षेत्र चक्रघट्टीकी मायाले आफूबीचको मायालाई हुर्काउँदै विवाह गरिहाले ।
विवाहपछि पो उनीहरूले थाहा पाए, अन्तरजातीय विवाहलाई समाजले कसरी पाइला–पाइलामा विभेद गर्दो रहेछ । परिवार र समाजबाट अलग्गिएर उनीहरूले आफ्नै दुनियाँ तयार पार्न थाले । यसै क्रममा लोहारका परिवारले मायालाई बुहारी स्वीकारे तर ससुरालीले रणध्वजलाई ज्वाइँ स्विकारेनन् ।
यो बीचमा उनीहरूले कतिपयबाट नमीठो व्यवहार पनि भोगे । मायाले सुनाइन्, ‘परिवारले अस्विकार्ने चेतावनी दिँदादिँदै पनि एकल निर्णय गरेर जोडी त बाँधे तर माइती पक्षसँग लामो समय सम्बन्ध–सम्पर्क नहुँदा भने न्यास्रो लाग्थ्यो । हुर्किरहेका छोराछोरी हेरेर चित्त बुझाउँथें ।’ हुर्किरहेका छोराछोरीले उनीहरूलाई बेलाबखत सोध्थे, ‘हामीलाई मामाघर किन नलगेको ?’ यो प्रश्नको उत्तर उनीहरूसँग हुन्थेन । दुई वर्षअघि रणध्वजले दसैंको छेको पारेर ससुरालीमा आफ्नो सम्पर्क नम्बर पठाए । हुर्किसकेका नातिनातिना देखेर मायाको बाआमाको मन पनि पग्लियो । अनि त दुई वर्षअघिको दसैंमा उनीहरूलाई ससुरालीले स्विकार्‍यो । उनले भने, ‘विवाह गरेको १३ वर्षपछि ज्वाइँलाई स्विकारे । परिवार मिलनको अवसरमा हर्षको
आँसु झार्‍यौं ।’
दलित महिला संघ सुर्खेतकी जिल्ला सचिव तुलसी रणपाल पनि अन्तरजातीय विवाह गरेर घरनिकाला नै गर्ने वा बस्नै नपाउने अवस्थामा केही कमी आए पनि यस्ता समस्या दोहोरिइरहेको बताउँछिन् । भन्छिन्, ‘अन्तरजातीय विवाह गरेको जोडीलाई समाजमा हेला गर्ने प्रवृत्ति अझै पनि कायमै छ ।’ जातीय विभेद गर्नेलाई फौजदारी अभियोगमा मुद्दा चल्ने भए पनि विद्यमान सामाजिक शक्ति अभ्यासका कारण यस्ता घटना स्थानीय तहका न्यायिक समिति र प्रहरीमा नपुगिरहेको देखिन्छ । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रसँगै रहने गरी दलित डेस्क राखिएपछि जातीय विभेदका उजुरी सोझै आउन थालेको सुर्खेतका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ यताका आठ वर्षमा मात्रै जातीय विभेदविरुद्धका १ सय ९० घटना दर्ता भएका छन् । प्रत्येक वर्ष यस्ता घटनाको संख्या भने बढ्दो देखिन्छ । जस्तो कि, २०७०/७१ मा १४ घटना प्रहरीमा दर्ता भएका थिए भने यो संख्या आर्थिक वर्ष २०७७/७८ मा ३९ वटा पुगेको देखिन्छ ।
प्रदेशगत रूपमा विभाजन गरेर हेर्ने हो भने जातीय छुवाछूतका सबैभन्दा धेरै घटना सुदूरपश्चिम प्रदेशमा भएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा सुदूरपश्चिममा मात्रै १५ घटना प्रहरीमा दर्ता भए । जबकि यही अवधिमा अन्य ६ प्रदेशमा भने जम्मा २४ वटा घटना दर्ता भएको देखिन्छ । संघीय सरकारको राजधानीमा मात्रै यो अवधिमा यस्ता ३ घटना दर्ता भएका छन् । यो संख्या गण्डकी, मधेस प्रदेशको भन्दा
धेरै हो ।
दक्षिण एसियामा विवाह परम्पराबारे भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा विद्यावारिधिका लागि शोध गरिरहेका सीपी अर्याल अन्तरजातीय विवाहले हिन्दु धर्ममा आधारित जात व्यवस्थाको क्रूर स्वरूपलाई हल्लाउने प्रयास गरिरहेको बताउँछन् । उनले वर्चस्वशाली हिन्दु धर्म दक्षिण एसियामै बलियो रहेको बताउँदै उनले त्यस्ता विवाह नस्विकारिनुका कारण थुप्रै रहेको र यो सजिलै भत्किनेमा शंका व्यक्त गरे । माओवादीको सशस्त्र द्वन्द्वका समयमा भएका कैयन् अन्तरजातीय विवाह शान्ति प्रक्रियापछि टुटेको उदाहरण दिँदै उनले राजनीतिक विद्रोहले मात्रै सामाजिक व्यवस्था नबदलिने बताए । ‘यो अन्त्य हुन्छ कि हुन्न भन्ने उत्तर पाउन यसमा कुन कोणले व्याख्या गर्ने भन्नेमा पनि भर पर्छ,’ उनले भने, ‘चलाख र फरक सोचका नयाँ पुस्तामा अन्तरजातीय विवाहको सन्दर्भमा केही परिवर्तन आएको त छ तैपनि एउटा खण्डलाई आफ्नो किनसिप (नाता सम्बन्ध) माथि आघातको डर छ । त्यसैले त्यो पुस्ता भन्छ, मलाई त समस्या थिएन तर घरमा बूढा बा–आमा, हजुरबा–हजुरआमाको चित्त दुखाउन सकिँदैन । यो विचारले देखाउँछ, हाम्रो बलियो किनसिप पनि जात व्यवस्थामा कसरी जेलिएको छ ।’

चाँदनी कठायत (वीरेन्द्रनगर), माधव अर्याल (पाल्पा), प्रदीप मेन्याङ्बो (सुनसरी) र जनकराज सापकोटा (काठमाडौं)

समाचार

जात व्यवस्थाविरुद्धका यी विद्रोही नारी

- पर्वत पोर्तेल

(झापा) - धेरैलाई वि.सं. २०२८ मा झापामा भएको कम्युनिस्ट विद्रोहको कथा सम्झना छ । ‘झापा विद्रोह’ भनिने यही विद्रोहको पेरिफेरीमा सामान्य परिवारकी तारादेवी भट्टराईले गरेको विद्रोह भने धेरैलाई याद छैन । जात व्यवस्थाले जकडिएको त्यो समाजमा उनी एक्लैले आँटेको सामाजिक विद्रोह जात प्रथाको शान्त तलाउमा फालिएको एउटा ढुंगो जस्तो थियो । त्यो
बेलाको समाजमा कथित उपल्लो बाहुन समुदायकी तारादेवीले पिँधमा पारिएको सार्की समुदायका पुरुषसँग अन्तरजातीय बिहे गर्ने आँट गरेकी थिइन् । त्यो विद्रोहको कथा यसरी सुरु हुन्छ ।
उनी राजगढकै एक विद्यालयमा पढ्दै थिइन् । बिहान स्कुल, साँझ ट्युसन जान्थिन् । छिमेकी गाविस गोल्धापको वडा ९ मा भारत असमको निकासी भन्ने ठाउँबाट शिक्षक आएका थिए, अच्युतकुमार बोगटी । असममै म्याट्रिक सिध्याएर आएका उनी अंग्रेजी भाषामा राम्रै दख्खल राख्थे । त्यही भएर देहातका स्कुले विद्यार्थी उनीसँग अंग्रेजी पढ्न मरिहत्ते
गर्थे । अरू कामधन्दा थिएन, ट्युसन पढाएर
जीविका धान्थे ।
अच्युतसँग धेरै छात्रा ट्युसन पढ्न आउँथे । तर, तारादेवी चाहिँ ट्युसन पढ्न धाउँदाधाउँदै उनीसँग गहिरो मायामा परिन् । यो प्रेम चक्कर चार वर्ष चल्यो । उनीहरू छुट्टिनै नसक्ने अवस्थामा पुगे । कक्षा आठमा पढ्दै गरेकी ताराका अघिल्तिर दुई विकल्प थिए । आमाबुबा रोज्ने वा अच्युतसँग बिहे गर्ने । उनले दोस्रो विकल्प रोजिन् । अन्ततः २०४० को मंसिरमा उनीहरू गाउँ छाडेर भागे ।
दलितसँग भागी बिहे गरेको हल्ला ‘एक कान दुई कान हुँदै मैदान’ बन्यो । त्यो समयमा जात व्यवस्थाविरुद्ध उनले गरेको त्यो साहसिक विद्रोहले सबै झस्किएका थिए । ‘कम्युनिस्ट आन्दोलनका अगुवाहरूले पनि जात व्यवस्थाविरुद्ध यस्तो विद्रोह चाहिँ गर्न सकेका थिएनन्,’ ५४ वर्षीया तारादेवीले त्यो क्षण सम्झिइन्, ‘कुन जोस र जाँगरले त्यसो गरे हुँला अहिले सम्झिँदा छक्क पर्छु ।’
सार्कीसँग छोरी भागेपछि परिवारमात्रै होइन समाज नै झस्कियो । तारालाई खोज्न सिंगो शक्ति परिचालन गरियो । तत्कालीन पञ्चायत सत्ता पनि तारा–अच्युतको प्रेमसम्बन्धप्रति असन्तुष्ट थियो । तर, झापामा लुकेर बसेका उनीहरूको सुइँको कसैले पाएनन् । ‘परिवारले त्यति राम्री मान्छे कोही नपाएर सार्कीसँग गई, बुद्धि बिगारी भन्ने आक्षेप लामो समयसम्म सहनुपर्‍यो,’ तारादेवीले सुनाइन्, ‘म भागेपछि परिवारले मेरो काजकिरिया नै गरेका थिए ।’
अहिले यो दम्पतीको स्थायी बसोबास झापाको कमल गाउँपालिकामा छ । छोरा–बुहारी सरकारी जागिरे छन् । तारादेवी भर्खर जन्मिएकी नातिनी स्याहारेर बस्छिन् । अच्युतकुमार बेलाबखत पुरानो र कहालीलाग्दो दिन सम्झिन्छन् । बिहे गरेका चार दशक बित्न लाग्दा पनि यो जोडीलाई परिवारले अझै औपचारिक रूपमा स्विकारेको छैन । सामान्य भेटघाट र बोलचाल मात्रै हुन्छ । चाडबाड, पूजाआजा र कार्जेमा उनलाई अझै निषेध गरिन्छ । ‘छोराले मेरो पनि मावल छ, मावलीहरू छन् भनेर अहिलेसम्म महसुस गर्नै पाएको छैन,’ तारादेवी प्रश्न गर्छिन्, ‘कति निर्दयी होला हाम्रो समाज अनि यो जात व्यवस्था ?’
तारादेवीकै जस्तो कथा छ, ५३ वर्षकी अञ्जु प्रसाईंको पनि । कम्युनिस्ट विचार मान्ने परिवारमा जन्मेकी उनी ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भन्ने कम्युनिस्ट गीत गुनगुनाउँदै हुर्किइन् । जातपात, छुवाछूत, उचनीच, धनीगरिबका विरुद्ध लाग्न परिवारबाटै प्रशिक्षित भइन् । जब यही ज्ञान उनले व्यवहारमा लागू गर्ने निर्णय गरिन्, तब उनको कम्युनिस्ट घरमा ठूलो भूकम्प आएजस्तो भयो ।
उनले छिमेकी केशव बर्देवासँग अन्तरजातीय बिहे गरिन् । तर, ०४७ पुस १२ गते अन्तरजातीय बिहे गरेकै कारण देश छाडेर भाग्नुपर्‍यो । १५ सय रुपैयाँ बोकेर यो जोडी ज्यान जोगाउन भैरहवा हुँदै भारत राजस्थानको जयपुर पुग्यो । केशवले चौकीदारी सुरु गरे । अञ्जुले पनि सानोतिनो काम थालिन् । दुई छोरी उतै जन्मिए । दस वर्षपछि सपरिवार स्वदेश त फर्किए तर परिस्थितिमा बदलाव देखिएन । उनीहरूप्रति समाजको बुझाइ उस्तै थियो । अनि फेरि उनीहरू फर्किन बाध्य भए ।
समस्या बिस्तारै सङलिँदै गएको थाहा पाएपछि दोस्रो पटक उनीहरू आए । ‘दाजु (विष्णु प्रसाईं, प्रदेश ३ का पूर्वप्रदेश प्रमुख) ले पहिलो भेटमै स्वीकार्नुभयो,’ अञ्जुले त्यो क्षण सम्झिइन्, ‘मेरा लागि सबै बहिनीहरू बराबर हुन्, गरिखान सिक्नु, आफ्नो खुट्टामा उभिन जान्नु भनेपछि ढुक्क लाग्यो ।’ दाजुले स्विकारे पनि भाउजू र परिवारका अन्य सदस्यले स्वीकार्ने अवस्था थिएन । दुवैले यतै बस्ने योजना बनाए । मिहिनेत गरे । करिब डेढ वर्षपछि जमिन किनेर घर बनाए । तर पनि उनीहरूमाथिको विभेद उस्तै थियो । घर, परिवार, नातागोता, छरछिमेकले गरेको विभेदको फेहरिस्त निक्कै लामो छ । ‘चुनावअघि बल्ल मैले माइतमा एक रात बिताएँ,’ अञ्जुले सुनाइन्, ‘माइत घरमा एक रात बिताउन मैले ३० वर्ष कुर्नुपर्‍यो ।’
अञ्जली हिजोआज स्थानीय राजनीतिमा पनि सक्रिय छिन् । पूर्वजनप्रतिनिधिसमेत रहेकी उनी आफूले अझै पनि राजनीतिक रूपमा विभेद भोग्नुपरेको तीतो अनुभव सुनाउँछिन् । ‘पहिला परिवारको विभेद भोगियो, अहिले राजनीतिले विभेद गर्न थालेको छ,’ उनले भनिन्, ‘संविधानमै लेखिएको समानुपातिक समावेशी सिद्धान्तप्रति खिल्ली उडाउने काम भइरहेको छ ।’
तारादेवी र अञ्जुले जात व्यवस्थाविरुद्ध गरेकै जस्तो विद्रोहको कथा सीता ढुंगानासँग पनि छ । उनले विद्रोह गरेको समय फरक भए पनि भोग्नुपरेको तीतो अनुभव उस्तै छ । सीताले छविलाल विश्वकर्मासँग प्रेम बिहे गर्दा देशमा माओवादी विद्रोह सुरु भइसकेको थियो । देहातका कुना कन्दरादेखि सहरका गल्लीगल्लीमा ‘माओवाद जिन्दावाद’ को भित्तेलेखन पोतिएको थियो । माओवादीहरू जात व्यवस्थाविरुद्ध पनि खरो उत्रिएका थिए । तर उनीहरू पाँचथरको रानीगाउँबाट मधेस भाग्नुपर्‍यो ।
स्कुले जीवनदेखि नै प्रेम गर्न थालेका उनीहरू निक्कै लामो सम्बन्धलाई मूर्तरूप दिन चाहन्थे । घरपरिवार र समाजले अस्वीकार गरेपछि अन्ततः भागेर बिहे गर्ने निधोमा पुगे । गत पुसमा उनीहरू भागेका ठीक २२ वर्ष लाग्यो । तर, उनीहरूलाई अझै ढुंगाना परिवारले स्विकारेको छैन । ‘दसैंतिहारमा घर जान्छौं,’ ४५ वर्षीया सीताले भनिन्, ‘माइत चाहिँ गएकी छैन ।’ गत वर्ष सीताका बुबा बिते । माइती पक्षले काजकिरियामा रोक लगाएपछि उनले बिर्तामोडमा बुबाको किरिया कर्म गर्नुपर्‍यो । अहिले पनि पाइलैपिच्छे विभेद भोगिरहनुपरेको तीतो अनुभव सीतासँग छ । विभेदका अनेकन नमिठो अनुभव सँगालेकी उनी प्रश्न गर्छिन्, ‘दलितसँग बिहे गर्नु नै मेरो अपराध थियो ?’

Page 4
वाग्मती प्रदेश

‘औद्योगिक क्षेत्र प्रदेशमा ल्याउन जरुरी’

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)— वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले औद्योगिक क्षेत्र प्रदेश मातहतमा ल्याउन जरुरी रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको पाँचौं प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए ।
‘औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रमा संघीय सरकारको ध्यान पुगेको छैन । हामी मातहत ल्याएर त्यसलाई थप व्यवस्थित गर्न जरुरी छ ।’ उनले हेटौंडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको समेत बताए । मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र काममा लगाउन उद्योगीहरूलाई आग्रह गरे । ‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार निकाल्न जरुरी छ,’ उनले भने ।

वाग्मती प्रदेश

केयूका १७ सय १५ विद्यार्थी दीक्षित

- कान्तिपुर संवाददाता

(काभ्रे) - काठमाडौं विश्वविद्यालय (केयू) को २७ औं दीक्षान्त समारोहअन्तर्गत दोस्रो चरणमा १ हजार ७ सय १५ विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार केन्द्रीय परिसर धुलिखेलमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज विधाका ११ जना पीएचडी तथा ४३ एमफिलसहित दीक्षित भएका हुन् । दीक्षित हुनेमा ९ देशका १ सय ५७ विदेशी विद्यार्थी पनि छन् ।
विश्वविद्यालयको इतिहासमा पहिलोपटक बीएससी इन कम्प्युटेसनल म्याथम्याटिक्समा १५ जना, एमएससी फिजिक्समा ९ जना, एमएससी पब्लिक हेल्थ (इपिडिमियोलोजी) मा ५ र एमएससी पब्लिक हेल्थ (ग्लोबल हेल्थ) मा ५ जनालाई उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । २०७८ मंसिर २९ मा भएको पहिलो चरणको दीक्षान्तमा १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका थिए ।
कार्यक्रममा स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सीजीपीए प्राप्त गर्ने स्कुल अफ इन्जिनियरिङका दीपेन्द्र पन्त र सुदीप श्रेष्ठलाई चान्सलर स्वर्ण पदक र स्नातक तहमा सबैभन्दा बढी सीजीपीए ३.९९ ल्याउने स्कुल अफ
आर्टस्बाट अभिप्षा रायमाझीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरिएको छ । स्नातक तह एमबीबीएसमा सबैभन्दा बढी अंक ल्याउने मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराका जायज अधिकारीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरियो ।
जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टबाट एमबीएमा सीजीपीए ३.९२ ल्याउने आरती काफ्लेलाई र एमबीए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टकै सीजीपीए ३.८ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी श्रीजन भण्डारीलाई प्रदान गरिएको हो ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको समारोहमा आईआईटी हैदराबादका निर्देशक बीएस मूर्ति प्रमुख अतिथि थिए । कुलपति देउवाले दीक्षितहरूलाई मुलुकमा नै गुणस्तरीय शिक्षा प्रदान गरेर केयूले शिक्षाका लागि विदेशिने पैसा नेपालमा रोकेको भन्दै प्रशंसा गरे । शिक्षामा गुणस्तर कायम गरेकै कारण विदेशी पनि नेपालको शिक्षाप्रति आकर्षित भएको
तर्क गरे ।
प्रधानमन्त्री देउवाले बौद्धिक बेरोजगारी र प्रतिभा पलायन रोक्नेका लागि विद्यार्थीको रुचिअनुसारको विश्वस्तरीय शिक्षा दिनु अहिलेको आवश्यकता भएको बताए । बीएस मूर्तिले दृढ इच्छाशक्ति र सिकाइका लागि सधैं उत्प्रेरित भइरहनुपर्ने बताए । केयूका उपकुलपति डा. भोला थापाले केयूका उत्पादनले देशलाई समृद्ध बनाउन योगदान दिएको बताए ।

Page 5
अर्थ वाणिज्य

'वितरणमुखी योजना सँगै बाँडौंला, सँगै भोट मागौंला’

- हेमन्त जोशी

(काठमाडौं) - अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई महत्त्वाकांक्षी, चुनावलक्षित र वितरणमुखी नरहेको दाबी गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले बजेट महत्त्वाकांक्षी नभई वास्तविक रहेको र चुनावलाई लक्षित गरेर ल्याइएका योजना तथा कार्यक्रम सरकारको अनिवार्य दायित्व रहेको
प्रस्ट्याएका हुन् ।
‘जनतालाई केही बाँडेर भोट माग्ने मानसिकता राखिएको छैन । यसमा कुनै भोटको कुरा छैन,’ विद्युतीय चुलो बाँड्ने बजेटको योजनाको उदाहरण दिँदै शर्माले भने, ‘ चुनाव हेरेर बाँड्न लागेको भन्ने लाग्छ भने सँगै बाँड्न जाऔंला, सँगै भोट मागौंला ।’ संविधानले निश्चित समयका लागि मात्रै बजेट ल्याउने व्यवस्था नगरेको र वार्षिक रूपमै ल्याउनुपर्ने भएकाले पूर्ण आकारको बजेट ल्याइएको उनको भनाइ छ । ‘चुनाव वा अरू केही भनेर यति–उति महिनाका लागि मात्रै बजेट भन्ने पनि हुन्छ र ? बजेट त वार्षिक रूपमा नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानमा ५ वा ७ महिनाका लागि लेखेको भए त्यसै गर्न हुन्थ्यो,’ प्रदेश र राष्ट्रिय सभाको चुनाव तोकिएको समयमै हुने र त्यसलाई पर्याप्त बजेट
छुट्याइएको उनको भनाइ छ ।
आगामी निर्वाचन, कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता, दिवा खाजा कार्यक्रम र आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने भएकाले बजेटको आकार बढेको उनले बताए । तर, बजेट वृद्धिको प्रतिशत, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग बजेटको अनुपात र बजेट घाटा भने अघिल्ला आवहरूको तुलनामा कम रहेको उनले दाबी गरे । ‘चालु वर्षको तुलनामा आगामी आवमा आन्तरिक ऋणको साँवा भुक्तानी बढी गर्नुपर्ने भएकाले चालु खर्च बढी देखिएको हो । सरकारले लिएको ऋणको साँवा बुझाउने अवधि यही वर्षभित्र पर्न आउँदो रहेछ । ऋणको साँवा बुझाउन मात्र यस वर्ष करिब ५० अर्ब रुपैयाँले दायित्व थपिएको छ,’ उनले भने, ‘खुद बजेट घाटा चालु आवको अनुमानित कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत बराबर मात्रै छ ।’ अघिल्ला वर्षहरूमा सरकारी ऋणको ब्याज मात्रै भुक्तानी गरे हुने अवस्था रहेकामा आगामी आवमा भने साँवा नै भुक्तानी गर्नुपर्ने कार्यतालिका रहेको उनको भनाइ छ ।
जीडीपीको तुलनामा बजेटको आकार चालु आवको भन्दा आगामी आवका लागि कम छ । ‘आगामी आवको बजेट अनुमानित कुल गार्हस्थ्य उत्पादनको ३६.९ प्रतिशत बराबर छ । तर, चालु आवको बजेटमा यस्तो अनुदान ३८.६ प्रतिशत बराबर थियो,’ उनले भने, ‘जीडीपी अनुपातमा बजेटको आकार चालु आवको तुलनामा आगामी आवमा २ प्रतिशत बिन्दुले कम नै छ । त्यसैले पनि यो बजेट महत्त्वाकांक्षी छैन, वास्तविक छ ।’
चालु आवको बजेटको आकार गत आवको भन्दा १०.७३ प्रतिशतले वृद्धि गरिएको थियो । अध्यादेशबाट ल्याइएको भए पनि पूर्ण बजेट ल्याइएको थियो । चालु आवको भन्दा आगामी आवको बजेटको आकार ९.८६ प्रतिशतले मात्र बढी छ । सामान्यतया नयाँ बजेटहरू अघिल्लोभन्दा १० प्रतिशतभन्दा बढीले वृद्धि हुने गरेको देखिन्छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तणमा वृद्धि गरिएको र धेरैवटा आयोजना तल्लो तहमा पठाइएको सरकारको भनाइ छ । ‘बजेट विनियोजनका क्रममा १ करोडसम्म लागतका खानेपानी, पर्यटन, सहरी विकास, २ करोडसम्मका नदी नियन्त्रण र ५ करोड लागतसम्मका योजना प्रदेशमा पठाइएका छन्,’ अर्थमन्त्री शर्माले भने, ‘५० लाखसम्मका खानेपानी पर्यटन तथा सहरी विकासका योजना स्थानीय तहमा हस्तान्तरण गरिएका छन् ।’
आगामी आवमा राखिएको आर्थिक वृद्धिदर, राजस्व लक्ष्य र मुद्रास्फीतिको लक्ष्य स्वाभाविक रहेको पनि उनको जिकिर छ । निजी क्षेत्रलाई आर्थिक क्षेत्रको इन्जिनका रूपमा लिइएको, आन्तरिक उत्पादनलाई जोड दिएको, कृषि उत्पादनलाई बढावा दिएको लगायतका विषय बजेटका सकारात्मक पक्ष रहेको उनले दाबी गरे । सम्भावित खाद्य संकटलगायतका समस्यालाई मध्यनजर गरेर नेपालभित्रकै स्रोत, साधन, पुँजी, जनशक्ति र प्रविधिलाई जोडेर उत्पादन बढाउन खोजिएको तथा क्लिंकर सिमेन्टजस्ता वस्तु निर्यातका नयाँ सम्भावनाको खोजी गरिएको पनि उनको भनाइ छ ।
त्यसैगरी, पिकपावर सय किलोवाटभन्दा बढी क्षमता भएका विद्युतीय गाडीमा अन्तःशुल्क लगाउने र भन्सार बढाउने सरकारी निर्णयबाट आमउपभोक्तालाई ठूलो असर नपर्ने तर्क उनले गरेका छन् । विद्युतीय सवारीसाधनको कर बढाउँदा विदेशी मुद्रा सञ्चितिको चाप घटाउन सहयोग पुग्ने र सरकारले राजस्व पनि पाउने उनले दाबी गरे । ‘पेट्रोलियम गाडीभन्दा बढी डलर विद्युतीय गाडीमा पठाउनुपर्ने हुँदा त्यसको क्षतिपूर्तिस्वरूप थोरै कर बढाऔं भन्ने भएको हो । आजको राजस्व संकलन र हामीले बाहिर पठाइरहेको डलरको अवस्था हेरेर यो निर्णय गरिएको छ,’ उनले भने, ‘सरकारले अब विद्युतीय सवारी मात्रै किन्ने भनेको छ । महँगा विद्युतीय सवारीसाधन कि त सरकारले किन्ने हो कि बढी सम्पन्न मान्छेहरूले किन्ने हो ।’
ठूलो क्षमताका गाडीहरू हुने–खाने वर्ग र सरकारले किन्ने भएकाले त्यसमा कर बढाउँदा तल्लो वर्गका मानिसहरू समस्यामा नपर्ने उनको तर्क छ । विद्युतीय सवारीसाधनमा कर बढाउँदा केही कम्पनीलाई मात्र फाइदा पुगेको भनेर सांसदहरूले लगाएको आरोप निराधार रहेको पनि उनले बताए । ‘१ सय किलोवाटभन्दा कम क्षमताका बजारमा १३ प्रकारका गाडी छन् । ती विद्युतीय गाडी र पेट्रोलियम गाडीको अनुपात हेर्‍यो भने पेट्रोलियम गाडीहरू सस्ता छन्,’ उनले भने, ‘सय किलोवाटभन्दा माथिको गाडीका लागि केही वृद्धि गरिएको छ । ६० लाख पर्ने गाडीलाई अहिले ६८ लाख पर्ने भयो होला । कर बढाउँदा डलर धेरै बाहिर जान रोकिने र सम्पन्न व्यक्तिहरूले थोरै बढी तिरेर किन्दा राज्यलाई पनि राम्रो भयो ।’

इन्धनको मूल्य घटाउन एमालेको प्रस्ताव
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेले इन्धनको मूल्य घटाउनुपर्ने प्रस्तावसमेत दर्ता गराएको छ । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेस गर्न सरकारलाई झकझक्याउन आवश्यक भएकाले उक्त प्रस्ताव लगिएको उनको भनाइ छ । इन्धनको मूल्य बढ्दा यसले पार्ने बहुआयामिक असरबारे कुनै विश्लेषण नगरिएको र सरकारले मनलाग्दी मूल्य बढाएको प्रतिपक्षको आरोप छ । ‘छिमेकी मुलक र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो भन्दैमा यहाँ बढाउनुपर्छ भन्ने होइन । कर छुटबाट समायोजन गर्न सक्छौं तर सरकारले घटाउने प्रयास गरेको छैन,’ उनले भने ।

अर्थ वाणिज्य

समेटिएन कोरोना बिमा भुक्तानी, बिमित निराश

- यज्ञ बञ्जाडे

(काठमाडौं) - कोरोना बिमाको भुक्तानी पाउँला भन्ने आसमा बसेका करिब सवा लाख बिमितलाई सरकारले फेरि निराश तुल्याएको छ । आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको ‘जम्बो’ बजेट ल्याएको सरकारले त्यसमा कारोना बिमा भुक्तानीको विषय नै नसमेटेपछि बिमितहरू निराश बनेका हुन् ।
‘कोरोना बिमाबारे बजेटमा केही सम्बोधन होला भन्ने आस थियो,’ काठमाडौं कीर्तिपुरका रामकृष्ण श्रेष्ठले भने, ‘बजेटमा कोरोना बिमा शब्द नै समेटिएन । अब त के पैसा पाइएला र ?’ बिमाको रकम नपाउनुमा सरकारसँगै नियामक निकायहरू बिमा समिति र बिमा कम्पनी सबै दोषी रहको उनले बताए ।
केही महिनायता अर्थमन्त्री जनार्दन शर्माले बिमा समिति र बिमा कम्पनीलाई कोरोना बिमाको बाँकी रकम किस्ताबन्दीमा दिने बताउँदै आएका थिए । ‘भेट हुँदा पैसा दिन्छु भन्ने आश्वासन पाइन्छ,’ बिमा समिति स्रोतले भन्यो, ‘मन्त्री र सचिवले भनेको कुरा विश्वास गर्नु नै पर्‍यो तर पैसा आउँदैन । सरकारबाट पैसा नआई कम्पनीले तिर्न मान्दैनन् । यही हो कोरोना बिमाको पछिल्लो अवस्था ।’ सरकारले बिमाको रकम भुक्तानी गर्न बजेट नछुट्याएकाले यसबारे केही भन्न नसकिने अर्थ मन्त्रालय स्रोत बताउँछ । ‘सरोवारवाला निकायसँग अब पैसा दिइहाल्छु भन्ने तर बजेटमा नसमेट्ने, यस्तो पनि हुन्छ ?’ अर्थका एक उच्च अधिकारीले भने, ‘दिनुपर्ने पैसा पनि धेरै छ, अब कताबाट स्रोत व्यवस्थापन गर्न सकिएला र ?’
अर्थ प्रवक्ता ढुन्डीप्रसाद निरौलाले कोरोना बिमा भुक्तानी सम्बन्धमा औपचारिक कुनै निर्णय भइनसकेको बताए । ‘अनौपचारिक रूपमा मन्त्रीज्यू र सचिवको कुन निकायसँग के कुरा भयो भन्ने मलाई जानकारी हुने विषय भएन,’ उनले भने, ‘रकम भुक्तानी दिने सम्बन्धमा भने कुनै निर्णय भएको छैन । अहिले मैले भन्न सक्ने यत्ति हो ।’
कोरोना बिमा भुक्तानी गर्न सरकारले तिर्नुपर्ने रकम नपाएपछि निकासाका लागि पहल गरिदिन भन्दै बिमा कम्पनीहरूले विभिन्न संघसंस्थामा हारगुहार गरिरहेका छन् । निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन बिमक संघले औपचारिक पत्र नै लेखेर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल पत्रकार महासंघलगायत संघसंस्थालाई रकम निकासाका लागि पहल गरिदिन ३ महिनाअघि नै आग्रह गरेको थियो ।
पछिल्ला महिनामा बिमितले बिमा भुक्तानी नभएको भन्दै विभिन्न जिल्लामा २० वटै निर्जीवन बिमा कम्पनीविरुद्ध मुद्दा दर्ता गराएका छन् । मुद्दामा सबै कम्पनीलाई विपक्षी बनाइएकाले बिमक संघमार्फत सामूहिक रूपमा प्रतिरक्षा गर्ने निर्णय कम्पनीहरूले गरेका छन् । हालसम्म विराटनगर, नेपालगन्ज, सुर्खेतलगायत स्थानमा बिमितले मुद्दा दर्ता गराएका छन् ।
सम्झौताअनुसार सरकारले तिर्नुपर्ने रकम अर्थ मन्त्रालयले पछिल्लो एक वर्षदेखि रोकिदिँदा बिमितले भुक्तानी नपाएका हुन् । यसमा अर्थ मन्त्रालयले अनेक कारण देखाउँदै आएको गुनासो बिमा कम्पनीहरूको छ । २०७७ चैतदेखि कम्पनीहरूले भुक्तानी ठप्प पारेका छन् । बिमा समितिका अनुसार कोरोना बिमाबापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । संख्याका आधारमा हेर्दा करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ । जसमध्ये धेरैजसोको प्रतिव्यक्ति १ लाख रुपैयाँका बिमा छन् । प्रतिव्यक्ति ५० हजार र उपचार खर्चका आधारमा भुक्तानी हुने दाबी निकै थोरै रहेको समितिले जनाएको छ ।
२०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच कोरोना बिमामा परेको कुल दाबीमध्ये १ अर्बसम्मको बिमा कम्पनीले, १ अर्बदेखि २ अर्बसम्मको नेपाल पुनर्बिमा कम्पनीले, २ अर्बदेखि साढे २ अर्बसम्मको बिमा कम्पनीको महाविपत्ति कोषले, साढे २ अर्बदेखि साढे ३ अर्बसम्मको बिमा समिति र साढे ३ अर्बभन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति भएको थियो । जसअनुसार समिति र कम्पनीहरूको दायित्व करिब साढे ३ अर्ब उनीहरूले तिरिसकेका छन् । अब भुक्तानी गर्न बाँकी करिब साढे ११ अर्ब रुपैयाँ सरकारको दायित्वअन्तर्गतको मात्रै हो ।

अर्थ वाणिज्य

'पारदर्शी कारोबारमा अडिटर्सको भूमिका महत्त्वपूर्ण’

- कान्तिपुर संवाददाता


काठमाडौ‌‌ं (कास)– उपराष्ट्रपति नन्दबहादुर पुनले हरेक कारोबारलाई पारदर्शी र निष्पक्ष बनाउन लेखा परीक्षण व्यवसायी (अडिटर्स) को महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । काठमाडौंमा सुरु भएको नेपाल अडिटर्स एसोसिएसनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले अडिटर्सले कारोबारलाई पारदर्शी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आउँदा दिनमा पनि पारदर्शितालाई कायम राख्न आग्रह गरे ।
मुलुकमा भ्रष्टाचार र अनियमिततालाई न्यूनीकरण गर्न अडिटर्सकै भूमिकाले पनि सघाउ पुग्ने उनको भनाइ छ । ‘तपाईंहरूले निजी क्षेत्रलाई पारदर्शिता र मितव्ययिताको बाटोमा डोहोर्‍याउँदै आउनुभएको छ, यो आगामी दिनमा पनि कायम रहने विश्वास छ,’ उनले भने ।
अडिटर्स एसोसिएसनको महाधिवेशनले तीन वर्षका लागि अध्यक्षसहित नयाँ कार्यसमिति चयन गर्नेछ । सहमतिमै अध्यक्ष छनोटका लागि महाधिवेशन केन्द्रित रहेको एक केन्द्रीय सदस्यले बताए । महाधिवेशनमा देशभरबाट ५ सय जनाभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

Page 6
समाचार

अन्तर्राष्ट्रिय निकायमा उजुरी गर्ने ढोका बन्द

- कान्तिपुर संवाददाता


नेपाल सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ को पक्षराष्ट्र हो । पक्षराष्ट्रले त्यसको कार्यान्वयन नगरे सम्बन्धित देशका नागरिकले जातीय भेदभाव उन्मूलन समिति (सर्ड) मा उजुरी गर्न पाउँछन् । तर, नेपालमा भने नागरिकले त्यसरी उजुरी गर्न पाउने ढोका सरकार आफैंले बन्द गरेको छ । सबै किसिमका जातिभेद तथा रंगभेद उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि एक बाध्यकारी अन्तर्राष्ट्रिय मानवअधिकार कानुन हो ।
नेपालले सन् १९७१ मै महासन्धिको अनुमोदन गरे पनि ५१ वर्ष बित्दासमेत महासन्धिको धारा १४ बमोजिमको विशेष घोषणा गरेको छैन । त्यसबेला धारा ४, ६ र २२ मा राखेको आरक्षणसमेत कायम छ । धारा १४ ले महासन्धिमा उल्लिखित कुनै पनि अधिकारको उल्लंघन भए पीडित व्यक्ति वा नागरिकले राज्यपक्षविरुद्ध सर्ड समितिमा उजुरी गर्न सक्ने व्यवस्था छ । सरकारले धारा १४ को व्यवस्था मान्ने घोषणा गरेर त्यसको जानकारी संयुक्त राष्ट्रसंघका महासचिवलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै सर्डमा उजुरी लाग्छ ।
‘सरकार महासन्धिको पक्षराष्ट्र बन्यो, त्यसको अनुमोदन पनि गर्‍यो । नेपालका संविधान र कानुनमा पनि जातीय भेदभाव र छुवाछूत अन्त्य भयो,’ मानवअधिकारकर्मी भीम परियार भन्छन्, ‘अन्तर्राष्ट्रिय समुदायले कागजमा हेर्दा नेपालमा जातीय भेदभाव
नै देख्दैन, भेदभाव छ भनेर नागरिकले उजुरी गर्न पाउने सुविधा पनि छैन । ५१ वर्षदेखि सरकारले धारा १४ को घोषणा गरेको छैन । यहाँ दलितमाथिको दमन बढ्दो छ, अन्तर्राष्ट्रिय जगत्मा सरकार चोखो देखिन्छ ।’
सरकारले जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि लगानी नगर्ने, प्रस्ट नीति तथा कार्यक्रम पनि नल्याउने र अन्तर्राष्ट्रियस्तरमा मुद्दा गर्न जान पाउने सुविधासमेत नदिने गरिरहेको उनको आरोप छ । ‘सरकारका मन्त्रीहरू नै जातीय भेदभावलाई प्रोत्साहन गर्ने गरी प्रस्तुत हुन्छन्, हामीले यही सरकारबाट न्याय पाउँछौं भनेर कसरी विश्वस्त हुने ?’ परियारले भने । सर्ड समितिले जातीय भेदभाव र छुवाछूतका घटनामा प्रहरीले उजुरी नलिएको, राम्रो अनुसन्धान नगरेको वा आफ्नो देशको न्यायिक निकायबाट न्याय नपाएको अवस्थामा पीडितले उजुरी दिन पाउने व्यवस्था छ ।
महासन्धिको कार्यान्वयन भए/नभएको प्रगतिसहित हरेक दुई वर्षमा पक्षराष्ट्रहरूले सर्ड समितिलाई प्रतिवेदन बुझाउँछन् । तर, नेपालले सन् २०१८ पछि त्यस्तो प्रतिवेदन बुझाएको छैन । सर्डले १ मार्च, ०२२ मा २४ औं र २५ औं प्रतिवेदन पेस गर्न पत्राचार गरेको थियो । तर, सरकारले अहिलेसम्म प्रतिवेदनको तयारीबारे नै छलफल गरेको छैन । सर्ड समितिले सन् १९८७ मै ८ औं प्रतिवेदनमाथि टिप्पणी गर्दै धारा १४ को विशेष घोषणामा ध्यान दिन भनेको थियो । ‘सरकारले जानाजान यो घोषणा नगरेको देखिन्छ, यो घोषणा गर्दा भोलि कसैले पनि सर्डमा उजुरी दियो भने नेपालको अन्तर्राष्ट्रिय छविमा धक्का लाग्छ भन्ने सरकारको बुझाइ देखिन्छ,’ अधिवक्ता त्रिलोकचन्द्र विश्वास भन्छन्, ‘जातीय भेदभाव र छुवाछूतको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सरकारले नै बाटो बन्द गरेर राखेको छ ।’
संयुक्त राष्ट्रसंघले सन् १९६५ मा सबै किसिमका जातिभेद तथा रंगभेद उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । जुन सन् १९६९ देखि कार्यान्वयनमा छ । हालसम्म यो महासन्धिलाई १८२ देशले अनुमोदन गरेका छन् ।

Page 7
समाचार

मुटु र फोक्सो प्रत्यारोपण ‘भारतमा सस्तो’

- अतुल मिश्र

(काठमाडौं) - अमेरिका र बेलायतको दाँजोमा भारतमा मुटु र फोक्सो प्रत्यारोपण १० गुणा कम खर्चमा हुने विज्ञले बताएका छन् । खर्च कम हुने भएकाले खाडी राष्ट्रसँगै पश्चिमी मुलुकका बिरामीसमेत भारत आउने गरेको उनीहरूको भनाइ छ ।
नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी काठमाडौंमा शुक्रबार गरेको अन्तरक्रियाका विज्ञहरूले फोक्सो प्रत्यारोपण गराउनेको दाँजोमा मुटु प्रत्यारोपण गराएकाहरू बढी बाँच्ने गरेको बताए । पछिल्लो समय फोक्सो प्रत्यारोपण गराएकाहरू औसत ७.४ वर्ष र मुटु प्रत्यारोपण गराउनेहरू १३.३ वर्ष बाँच्ने गरेका छन् । फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर राम्रो देखिएको छ । अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण विशेषज्ञ डा. मुकेश गोयलका अनुसार मुटु वातावरणको सम्पर्कमा नआए पनि फोक्सो भने निरन्तर श्वासप्रश्वासको माध्यमले वातावरण, प्रदूषण, जीवाणु आदिको सम्पर्कमा आउने भएकाले यो अंगको प्रत्यारोपणमा सफलताको दर कम देखिएको हो ।
केही समयअघि दुर्लभ कारणबाहेक सामान्यतया अन्तिम चरणको क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) अर्थात् दम भएका बिरामी र फोक्सोको फाइब्रोसिस भएका बिरामीका लागि प्रत्यारोपण आवश्यक हुन्थ्यो । पछिल्लो दिन कोभिडले गर्दा फोक्सोमा देखिने फाइब्रोसिसका केही केसमा फोक्सोको प्रत्यारोपणको आवश्यक देखिएको पल्मोनोलजी विभागका डा. एमएस कुँवर बताउँछन् ।
अन्तिम अवस्थामा पुगेका फोक्सो र मुटुका रोगीमा अंग प्रत्यारोपण नगरिए ६ महिनादेखि १ वर्षसम्ममा मृत्यु हुन सक्ने डा. गोयलको भनाइ छ । ६०–६५ वर्षभन्दा कम उमेरमा मुटु प्रत्यारोपण र ६५–७० भन्दा कम उमेरमा फोक्सो प्रत्यारोपण उपयुक्त देखिने विज्ञको भनाइ छ । मुटुको कार्यक्षमता ६० प्रतिशतभन्दा कम हुँदै गएमा यो फेल हुँदै गएको बुझ्नुपर्छ । ‘फेल भएका बिरामीमा मुटुले ३५ प्रतिशतभन्दा कम काम गर्छ,’ इलेक्ट्रोफिजियोलजिस्ट र इन्टरभेन्सनल कार्डियोलजिस्ट डा. बनिता अरोराले भनिन्, ‘यस्ता बिरामीलाई विभिन्न परीक्षण गरेर पेसमेकरजस्ता यन्त्र छातीमा प्रत्यारोपण गर्न सकिन्छ ।’ ३०–३५ प्रतिशत मुटुको कार्यक्षमता भएका बिरामी ब्रस गर्न जाँदा, ओछ्यानबाट उठेर हिँड्दासमेत स्वाँस्वाँ गरिरहेका हुन्छन् । यस्ता बिरामीलाई तीनवटा तार भएको पेसमेकर लगाइने उनले बताइन् । ‘६ महिनादेखि वर्ष दिनसम्म मुटुको कार्यक्षमता राम्रो भइहाल्छ । ४५ प्रतिशत वा योभन्दा बढी पुग्न सक्छ,’ उनले भनिन् ।
कतिपय बिरामीमा सामान्य मुटुको क्षमता फिर्ता आउँदैन । यस्ता बिरामीमा ‘सडन कार्डियाक एरेस्ट’ अर्थात् एक्कासि मुटु बन्द हुने समस्या देखिन सक्ने डा. अरोरा बताउँछिन् । ‘हालै भारतीय गायक केकेले गीत गाउँदा–गाउँदै र केही वर्षअघि पूर्वराष्ट्रपति अब्दुल कलामले भाषण दिँदादिँदै सडन कार्डियाक एरेस्ट भएको थियो,’ उनले भनिन्, ‘यस्ता समस्या भएकालाई एउटा तार भएको आईसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर) प्रत्यारोपण गरिन्छ । जसले मुटुको हरेक चाल अनुगमन गर्छ, असामान्य चाल हुँदा बिजुलीको झड्का दिएर सामान्य चाल बनाउँछ ।’ एक्कासि मुटु बन्द भएमा छातीमा सामान्य आईसीडी राखेर ज्यान जोगाउन सकिने उनले बताइन् ।
प्रत्यारोपणमा नेपालीलाई करिब ७६ हजार अमेरिकी डलर खर्च हुने अपोलोले जनाएको छ । अपोलोमा ८ वर्षयता १ सय ९६ वटा फोक्सो प्रत्यारोपण र १५ वर्षको अवधिमा ९० वटा मुटु प्रत्यारोपण भएको छ ।

समाचार

विधेयक नपाएको भन्दै एमालेद्वारा संसद् अवरोध

- जयसिंह महरा

(काठमाडौं) - प्रतिनिधिसभामा यौन हिंसासम्बन्धी केही ऐन संशोधन विधेयक २०७९ माथि छलफल चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले बैठक अवरोध गरेको छ । विधेयकबारे विचार गरियोस् भन्ने प्रस्तावमाथि सामान्य सैद्धान्तिक छलफल चलिरहेको र पार्टीकै सांसदले सहभागिता जनाइरहेका बेला एमालेले अवरोध गरेको हो ।
प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा सुरुमा कांग्रेस सचेतक पुष्पा भुसाल, त्यसपछि एमाले सांसदहरू बिन्दा पाण्डे र आशा विकले धारणा राखेका थिए । चौथो नम्बरमा कांग्रेसकी डिला संग्रौलाले विधेयकको सैद्धान्तिक पक्षमा धारणा राखिन् । त्यसपछि एमाले सांसद विमला विकले विधेयकमाथि धारणा राखिरहेका बेला एमालेकी सचेतक शान्ता चौधरीले सिटबाट उभिएर सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएकी थिइन् । उनले विधेयक प्राप्त नभएकाले बैठकको कारबाही रोक्न माग गरिन् । सभामुख सापकोटाले ‘जेठ १७ मा वितरण गर्नका लागि पिजन होलमा राखिएको छ हेर्नुहोला, सचिवालयबाट जानकारी आएको छ’ भन्दै बैठकको कारबाही अगाडि बढाउन खोजेका थिए । तर, एमाले सांसदले उभिएर अवरोध गरेका थिए ।
त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले उभिएर भने, ‘मैले नै उठ्नुपर्ने स्थिति भयो ।’ उनले संसद्मा विधेयकमाथि छलफल सुनिसकेपछि विधेयकका कतिपय प्रावधानबारे हेरौं भनेर सरासर ‘पिजन होल’ हेर्न गएको तर नपाएको बताए । संसद् सचिवालयका कर्मचारीलाई सोध्दा उक्त विधेयक नआएको जानकारी गराएको उनको भनाइ थियो । केही सांसदले विधेयक पाएको र केहीले नपाएको उनको भनाइ थियो । त्यसपछि सभामुख सापकोटाले सचिवालयका कर्मचारीसँग सल्लाह गरेर भने, ‘आजको कार्यसूचीमा रहेका बाँकी कार्यक्रम हटाइएको जानकारी गराउँछु ।’
जेठ १६ मा यौन हिंसासम्बन्धी विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको थियो । सोही दिन विधेयक संसद्को वेबसाइटमा राखिएको थियो । एमाले संसदीय दलमा रहेका कर्मचारीले जेठ १७ मै सांसदहरूको ‘पिजन होल’ मा विधेयक राखिएको बताएका छन् । एमाले संसदीय दल कार्यालयका एक कर्मचारीले भने, ‘विधेयक शाखाबाट प्राप्त भएकै दिन कुनै पनि विधेयक पिजन होलमा राखिन्छ । यो विधेयक पनि १७ गते नै एमाले संसदीय दलको कार्यालय, सिंहदरबारको पिजन होलमा राखिएको थियो । सांसदहरूले संसदीय दलको पिजन होलमा हेर्नुपर्ने तर कसरी उहाँहरूले नपाउनुभएको भन्ने थाहा भएन । हाम्रो कार्यालयबाट हुने काम नियमित रूपमा भइरहेको छ ।’
एमाले संसदीय दलका एक पदाधिकारीले भने सांसदहरूले आफ्नो नामको ‘पिजन होल’ मा नहेरेकाले ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको हुन सक्ने बताए । उनले सांसदहरूले संसद् भवन बानेश्वरमा शुक्रबार विधेयक खोजेको तर सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेको ‘पिजन होल’ मा विधेयक नहेरी विरोध गरेको बताए । प्रतिनिधिसभा नियमावलीको नियम १८ को २ मा ‘पिजन होल’ मा विधेयक राखेपछि सांसदले प्राप्त गरेको मानिने उल्लेख छ । ‘सचिवले आवश्यक कागजपत्र एवं सूचना सदस्यलाई उपलब्ध गराउनेछ,’ नियमावलीमा छ, ‘यस नियमबमोजिम सदस्यलाई उपलब्ध गराउनुपर्ने कागजपत्र एवं सूचना सदस्यसँग सम्बन्धित पिजन होलमा राख्ने व्यवस्था सचिवले मिलाउनेछ । यसरी पिजन होलमा कागजपत्र एवं सूचना राखिएकामा सम्बन्धित सदस्यले प्राप्त गरेको मानिनेछ ।’
यौन हिंसासम्बन्धी केही ऐन संशोधन गर्न यसअघिको सरकार र वर्तमान सरकारले पटक–पटक अध्यादेश ल्याएका थिए तर यसले विधेयकमार्फत कानुनी रूप लिन सकेको छैन । प्रतिस्थापन विधेयक संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ । प्रमाणीकरण भएन भने अध्यादेशबाट संशोधन भएको व्यवस्था निष्क्रिय हुन्छ । शुक्रबार विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको भए सांसदलाई संशोधन पेस गर्न ७२ घण्टाको समय छुट्याउने तयारी थियो । अब उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल अर्को बैठकमा हुने भएको छ ।

समाचार

क्यान्सरमुक्त शुभेच्छाको अनुभव 'क्यान्सर, खानपान र म’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सन् २०१६ तिर शुभेच्छा घिमिरेले नुहाउने क्रममा स्तनमा केही फरकपन जस्तो पाइन् । जाँच गराउँदा दोस्रो स्टेजको स्तन क्यान्सर भइसकेको रहेछ । त्यसबेला उनी ३२ वर्षकी थिइन् ।
६ वर्षअघिको त्यो क्षण सम्झँदै भन्छिन्, ‘डेढ वर्ष उपचारमै बित्यो । शारीरिक रूपमा ठीक भए पनि मानसिक रूपमा ठीक हुन २–३ वर्ष नै लाग्यो । ठीक भएपछि यसबारे बोल्नुपर्छ, जनचेतना फैलाउनुपर्छ भन्ने लाग्यो । आफ्नो रोगबारे बताउन र डाक्टरको पहुँचसम्म पुग्न धेरै गाह्रो मान्ने छन् । सचेतना होस् भन्ने उद्देश्यले पुस्तक लेख्ने आँट गरें ।’
क्यान्सरमुक्त बनेपछिको अनुभव समेटिएको घिमिरेको पुस्तक नेपाली अनुवाद ‘क्यान्सर, खानपान र म’ शुक्रबार राजधानीको एक कार्यक्रमबीच चलचित्र निर्देशक तथा लेखक यादव खरेल, अनुवादक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेल, जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, स्वर–सरा घिमिरे प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्की तथा लेखक शुभेच्छा घिमिरेले विमोचन गरे ।
घिमिरेले सन् २०२० मा अंग्रेजीमा लेखेको ‘क्यान्सर, करी एन्ड मी’ को नेपाली अनुवाद पौडेलले गरेका हुन् भने सम्पादन संयोजन डा. उप्रेती र युवराज नयाँघरेले गरेका हुन् । लेखकले आफ्नो क्यान्सर यात्राको अवस्था, नेपाली भान्सामा पाइने जडीबुटी, त्यसले आफ्नो स्वास्थ्यमा पारेको प्रभाव र निको भइसकेपछिको जीवनशैली र सचेतनामूलक जानकारी पुस्तकमा समेटेकी छन् ।
कार्यक्रममा शुभेच्छाले नेपाली समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा नगरिने बताइन् । ‘मलाई क्यान्सर हुँदा मभन्दा कम उमेरका महिलाहरू पनि उपचारमा थिए । आफ्नो शरीरको बारेमा, आफ्नो स्तनका बारेमा कुरा गरिँदैन । परिवारमा यस्ता खालका बहस हुन जरुरी छ,’ उनले भनिन् । आफूलाई क्यान्सर पहिचान हुँदा उनी अक्सफोर्ड युनिभर्सिटीमा अध्ययनरत थिइन् । रोग लागेपछि पढाइ छुट्यो तर निको भएपछि उनले एमबीए पूरा गरिसकेकी छन् । ‘डाक्टरले बच्चा पाउन सक्दैनौ होला’ भनेका थिए तर उनी अहिले २१ महिनाकी छोरीकी आमा छिन् । ‘आफन्त तथा श्रीमान्को साथ पाएको छु । सकारात्मक सोच्छु । नछुटाई प्राणायाम तथा व्यायाम गर्छु । घरकै खानेकुरामा जोड दिन्छु,’ उनले भनिन् ।
शुभेच्छाले दाहिने स्तन प्रत्यारोपण गराएकी छन् । छोरी जन्मेपछि स्तनपान गराउँदाको अनुभव र
आफ्नो नयाँ स्तन शरीरलाई स्वीकार्न कति समय लागेको थियो भन्नेबारे उनले बताइन् । ‘आफ्नै शरीर हो कि होइन भनेर धेरै पछि स्विकारें,’ उनले भनिन्, ‘कहिलेकाहीं आफ्नै शरीर हेरेर झसंग जस्तो हुन्छु तर जति समय बित्दै जान्छ सम्झना रहन्छ तर दुःख हराउने रहेछ ।’ खरेलले क्यान्सरबारे जनचेतना दिने पुस्तक गहन रहेको बताए । उनले भने, ‘यो किताब मृत्यु र जीवनको द्वन्द्वको कथा हो । ठूलो रोगमा सकारात्मक धारणा राखेर बस्ने मान्छे कमै हुन्छन् ।’
अनुवादक प्राध्यापक पौडेलले पुस्तकले मृत्यु र जीवन कस्तो देखिने रहेछ भन्ने बोध गराउने प्रतिक्रिया दिए । ‘जीवनमा आउने हरेक संकट सामना गर्न इच्छाशक्ति हुनुपर्छ भन्ने बताउँछ,’ उनले भने । जनस्वास्थ्यविद् डा. उप्रेतीले लेखकले आफूले मात्र नयाँ जीवन नपाएको बरु अरूलाई पनि जीवन दिएको बताइन् । ‘क्यान्सर जितिसकेपछि सन्तान जन्माइन् । नेपालमा धेरै महिलाहरू स्तन तथा पाठेघर क्यान्सरबाट पीडित छन् । थुप्रै महिलाहरू उपचारको दायरामा आउन सकेका छैनन्,’ उनले भनिन्, ‘शुभेच्छा बाँच्ने जीजीविषाले यहाँसम्म आइपुगेकी छन् । उनका श्रीमान् जस्तै सबै पुरुषहरू सहयोगी हुनुपर्छ ।’
प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्कीले नेपालीमा अनुवाद भएपछि नेपालीभाषी पाठकका लागि पुस्तकको महत्त्व बढ्ने भन्दै लेखकको अनुभव र नेपाली भान्सामा प्रयोग हुने मसला, तरकारी, खानपानसँगै जीवनशैलीका असाध्यै गहकिला पक्षहरूलाई उजागर
गरेको बताइन् ।

समाचार

एक वर्षमै पुस्तक परिमार्जन

- कान्तिपुर संवाददाता


रुकुम पूर्व (कास)– सिस्ने गाउँपालिकाले एक वर्षमै स्थानीय पाठ्यपुस्तक परिमार्जन गर्ने तयारी थालेको छ । गत वर्षदेखि लागू गरेको स्थानीय पाठ्यपुस्तक परिमार्जन गर्न लागिएको हो । पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठकले पाठ्यपुस्तक हेरफेर गर्न सुझाव दिएपछि कक्षा ६ को पाठ्यपुस्तक हेरफेर गर्न लागिएको हो ।
०७७ सालदेखि कक्षा ६ मा लागू भएको स्थानीय पाठ्यपुस्तकलाई पछिल्लो घटनासँगै परिमार्जन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । पुस्तकको साइज घटाउनुका साथै यसअघि पठनपाठन भइरहेको पाठ्यपुस्तकमा ०६८ सालको जनगणना अनुसारको जनसंख्या विवरण राखिएकामा अब ०७८ सालको जनगणना अनुसारको विवरण अद्यावधिक गर्ने र केही शब्दमा सुधार लगायतका काम गर्न लागिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिं बुढाले बताए ।

Page 8
खेलकुद

१० औं कान्तिपुर हाफ म्याराथन आज

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण आज (जेठ २१) हुने भएको छ । सिटी म्याराथनको अवधारणामा अगाडि बढाइएको कान्तिपुर हाफ म्याराथन पछिल्लोपल्ट २०७६ जेठ ११ मा भएको थियो ।
महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजक कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले जनाएको छ । हाफ म्याराथनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा २ हजारभन्दा बढीले नाम दर्ता गराएको केएमजीले जनाएको छ ।
सामाजिक विषयवस्तुलाई अभियानको रूपमा सञ्चालन जनचेतना जगाउने उद्देश्यमा कान्तिपुर हाफ म्याराथन सुरु भएको हो । पछिल्लोपल्ट ‘एन्टी पोलुसन रन’को रुपमा नवौं संस्करण सम्पन्न भएको थियो । उक्त संस्करण पुरुषतर्फ अनिश थापामगर र महिलातर्फ विश्वरुपा बुढाले जितेका थिए ।
अनिशले १ घन्टा ०८ मिनेट ०४ सेकेन्ड र विश्वरुपाले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।
कोभिड–१९ महामारीका कारण पछिल्लो दुई वर्ष यो हाफ म्याराथन प्रभावित भई आयोजना हुन सकेको थिएन ।
म्याराथनमा सहभागी हुनेले विभिन्न एउटा बिरुवा (वनस्पति) साथै लैजान पाउनेछन्, जसलाई आफ्नो घर वा कार्यालयमा सजाउन सकिनेछ । हाफ म्याराथनमा देशकै नाम चलेका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । २१.१ किमिमा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो ।
दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।
विभिन्न कर्पोरेट हाउसमा संलग्न व्यक्तिहरूका लागि ५ किमिको कर्पोरेट विधा राखिएको छ । विजेतालाई पोखरा र दोस्रो हुनेलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेजको व्यवस्था गरिएको छ भने तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट हात पार्नेछन् । शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर
दौड निकै रोचक हुने गर्छ ।
यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।
एनआईसी एसिया बैंक मुख्य प्रायोजक रहेको कान्तिपुर हाफ म्याराथनलाई नेपाल एथलेटिक्स संघको पनि मान्यता रहेको छ । तीन महिनाभित्र अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगितामा सहभागिता जनाए खेलाडी छनोटको आधार
यसै प्रतियोगितालाई लिइने संघले जनाएको छ ।
दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क हुनेछ । ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुनः थापाथलीमै आएर सकिनेछ । ५ किलोमिटर कर्पोरेट दौड थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुनेबाट फर्किएर पुनः सोही रुटमा थापाथली आएर टुंगिनेछ ।
हाफ म्याराथन पनि थापाथलीबाटै सुरु हुनेछ । माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर सकिनेछ ।
कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणसम्म आइपुग्दा महिलातर्फ कान्छीमाया कोजु पाँचपल्ट र पुरुषतर्फ आर्मीका हरिकुमार रिमाल चारपल्ट च्याम्पियन भइसकेका छन् ।

खेलकुद

लिभरपुल कता जाने छ ?

- कान्तिपुर संवाददाता

 

द गार्डियन (लन्डन) - अब के त ? लिभरपुल यहाँबाट कता जाने छ ? यो सिजन लिभरपुलका लागि वास्तवमै सर्वथा उत्कृष्ट हुनेवाला थियो । तर, भएन । म्यानचेस्टर सिटीले केही गोल कम गरेको भए अथवा एस्टन भिल्ला केही बढी गोल गरेको भए, इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलको हुने थियो । थिवाउट कोर्टवाले केही कम बचाउ गरेको भए पनि युरोपेली च्याम्पियन्स लिग सायद कम्तीमा अतिरिक्त समयमा जान्थ्यो कि ? यसअघि कुनै पनि क्लब एकै सिजन ठूला चार उपाधिको नजिक पुगेका थिएनन् । लिभरपुल यसपल्ट पुगेको थियो ।
सन् १९९२–९३ को सिजन आर्सनल यसको छेउछाउ थियो । सायद कसैले पनि अहिलेको लिभरपुल टिमलाई महान भन्ने छैन । तर एउटा तथ्य निश्चित छ, योर्गन क्लोपको नेतृत्वमा रहेको अहिलेको लिभरपुल टिम राम्रो भने छ । लिभरपुलको प्रदर्शन केही हदसम्म असाधारण पनि छ र यसले पस्कने खेल आफैंमा रोमाञ्चक पनि छ । खेलाडी बजारमा यही लिभरपुलले भने निकै कम खर्चेको छ, एभरटनले भन्दा पनि कम । तर यही टिम खर्चालु सिटीलाई दबाबमा राख्न सफल भएको छ ।
दबाबमा राखे पनि लिभरपुलले सिटीलाई उपाधि जित्नबाट रोक्न सकेको एकैपल्ट मात्र हो । सिटी आफै बलियो टिम रहेको छ । सिटीको सबै राम्रो छ, अभ्यास मैदान, प्रशिक्षकका सहयोगी, व्यवस्थापक पेप ग्वार्डिओला अनि अरू धेरै । यति जोड्नका लागि सिटीले आँखा चिम्लेर खर्च गरेको छ । तर लिभरपुलले भने पछिल्ला ६ वर्षमा जम्माजम्मी २० करोड पाउन्डको वरिपरि मात्र खर्च गरेको छ, खेलाडी किन्नका लागि । खेलाडी बजारमा लिभरपुलको व्यवहार चलाख व्यापारीको जस्तो छ ।
इंग्लिस फुटबल इतिहासमै लिभरपुल एक सफल, सर्वाधिक मन पराइएको टिम हो । अहिले तत्काल पनि सिटीलाई एक स्थानमा राख्ने हो भने लिभरपुल बाँकी टिममध्ये कता हो कता हुने गरेर बलियो छ । त्यसैले त टोलीले कम्तीमा दुई कप उपाधि जितेको छ । लिग कप र एफए कपको महत्त्व पनि कहाँ कम छ र ? कप उपाधि जित्नकै लागि भनेर लिभरपुलले सिटी र चेल्सी जस्ता टिमलाई हराएको पनि कसैबाट लुकेको तथ्य होइन । तर, आधुनिक फुटबलको दृष्टिकोणले हेर्ने हो भने लिभरपुलले आत्मसात् गरेको सफलता कमै हो ।
फुटबल भनेको उपाधि नै हो भने लिभरपुलले जसरी खेलेको छ, जसरी लगानी गरेको छ । जस्तो टिम छ, त्यो आधारमा टोलीले प्राप्त गरेका सफलता कमै हो । एउटा महान टिम र महान हुन नसकेको टिम छुटिने यस्तै आधारमा त हो । क्लोप आफैं पनि निकै चतुर प्रशिक्षक हुन् । उनले आफ्नो सोचअनुसार टिम बनाएका छन् । बुन्डेसलिगामा बोरुसिया डर्टमन्ड मात्र होइन, प्रिमियर लिगमा पनि उनले कम खर्चमै लिभरपुल टिम बनाएका छन् । तर प्रश्न यही हो, फाइनलमा किन क्लोपको टिम बढी पराजित रहन्छ ?
सन् २०१३ देखि २०१८ बीच उनले ६ फाइनल गुमाइसकेका छन् । यसपल्ट पनि लिग कप र एफए कप जित्न लिभरपुललाई टाइब्रेकर आवश्यक परेको थियो । दुवै अवसरमा प्रतिद्वन्द्वी टिम चेल्सी थियो । तथ्यांककै कुरा गर्ने हो भने लिभरपुलले फाइनलका साढे पाँच घण्टा कुनै गोल गर्न नसेकेको तथ्य पनि त छ । स–साना कुरा पनि केलाएर हेर्ने बानी भएका क्लोपले यो तथ्यांक पनि पक्कै ध्यान दिएको हुनुपर्छ । एउटा तथ्यांक अर्को पनि छ, यस सिजन लिगको शीर्ष चारमा रहेका टिम कसैलाई पनि लिभरपुलले हराउन सकेको थिएन ।
सायद क्लोपको यो एउटा रणनीति हुनसक्छ वा बाध्यता । त्यसैले त टिममा उनले थियागो अल्कान्टार जस्ता खेलाडीलाई भित्र्याएका छन् । उनको आगमनपछि लिभरपुलको खेल केही मात्रामा राम्रो भएको छ । तर उनलाई सुरुदेखि खेलाउनु पनि क्लोपकै भुल थियो कि ? रियलविरुद्धको फाइनलपछि भन्न कर लाग्छ, लिभरपुल टिममा केही दोष त छ नै । महान भन्न सकिने जस्तो टिम छैन । फेरि असाध्यै आश्चर्य मान्नुपर्ने तथ्य पनि त होइन । महान हुन लिभरपुलले लिग र च्याम्पियन्स लिग त जित्नुपर्ने नै थियो ।
जतिबेला प्रतिद्वन्द्वी केही राम्रो हुन्छ, लिभरपुल गोलको खाता खोल्न संघर्षरत हुन्छ । मार्चको अन्तर्राष्ट्रिय विश्रामयता लिभरपुलको प्रदर्शन खासैमा त्यस्तो रहेन, जस्तो च्याम्पियन टिमको जस्तो हुनुपर्ने थियो । त्यसैले त लिभरपुल फेरि एकपल्ट त्यस्तो टिम बन्यो, जसले सर्वाधिक अंक त बटुल्यो, तर लिग जित्न सकेन । टिम महान हुन धेरै उपाधि जित्नुपर्छ । यसलाई दोहोर्‍याए भन्नैपर्छ । अबको सिजन लिभरपुलले सिटीलाई पन्छाउने हो, फेरि च्याम्पियन्स लिगको उपाधि जित्ने हो भने अहिलेको यही टिममा थप सुधार आवश्यक छ ।

 

खेलकुद

चर्च ब्वाइज विजयी

- सुवास बिडारी

(मकवानपुर) - चर्च ब्वाइज क्लब हेटौंडामा जारी चौथो सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । पिप्लेक्याम्पा रंगशालामा शुक्रबार चर्च ब्वाइजले भरतपुर एफसीलाई ३–० ले पराजित गरेको थियो । चर्च ब्वाइजबाट आशिष चौधरीले २ र हेमन्त थापा मगरले एक गोल गरे । दुई गोल गरेका आशिष म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सुरुमा चर्च ब्वाइजमाथि भरतपुर हाबी भए पनि गोल गर्न सकेन । खेलको २१ औं मिनेटमा भरतपुरका गणेश हमालले गरेको प्रहार चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले मुस्किलले बचाए । भरतपुरका विदेशी खेलाडी फोफानाले २५ औं मिनेटमा प्राप्त मौका चुकाए । पहिलो हाफमा चर्च ब्वाइजका खेलाडीबीच तालमेलको अभाव देखिएको थियो ।
दोस्रो हाफमा चर्च ब्वाइजका आशिषले ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनको गोलसँगै चर्च ब्वाइज हाबी भयो । खेलको ६२ औं मिनेटमा चर्च ब्वाइजको तर्फबाट हेमन्तले टिमका लागि दोस्रो गोल गरे । पुनः आशिषले ७७ औं मिनेटमा गोल थप्दै अग्रता फराकिलो पारे । चर्च ब्वाइजका सुनील खड्काले ६३ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
खेलपछि प्रतिक्रिया दिँदै भर्खरै मात्र ‘ए’ डिभिजनमा उक्लिएको चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले खेलाडीबीच पहिलो हाफमा तालमेलको अभाव हुँदा समस्या देखिएको बताए । ‘दोस्रो हाफमा हाम्रो योजनाअनुसार सुरुमै गोल भयो । लगातार गोल भएपछि थप सहज भयो ।’ उनले आगामी खेलमा अझै सुधारिएको खेल प्रस्तुत गर्ने बताए । भरतपुरका प्रशिक्षक ध्रुव भुसालले पहिलो हाफमा प्राप्त मौका सुदपयोग गर्न नसक्दा खेलमा हार बेहोर्नुपरेको सुनाए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोगमा भएको प्रतियोगिताअन्तर्गत शनिबार एपीएफ र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

नेपालविरुद्ध अल स्टार्स हाबी

- विनोद पाण्डे

(ह्युस्टन, अमेरिका) - आईसीसी विश्वकप लिग २ को तयारीक्रममा अमेरिका रहेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाली अल स्टार्सले बिहीबार नेपाललाई ४ विकेटले पराजित गर्दै राम्रो सबक सिकाएको छ ।
अल स्टार्सका कप्तान पृथु बाँस्कोटाले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ४५.५ ओभर खेल्दै ९ विकेट गुमाई १ सय ९० रनमात्र बनाउन सक्यो । ओपनर आसिफ शेख ४ बल खेलेर १ रनमात्र बनाएको अवस्थामा रिटायर्ड आउट भए । बलले उनको घुँडामा लागेको थियो । चोटपछि मैदान छाडेका आसिफ स्क्यान गराउन अस्पताल पुगेका थिए । चोटको रिपोर्ट आउन बाँकी नै छ ।
अर्का ओपनर कुशल भुर्तेलबाट पनि नेपाल निराश नै हुन पुग्यो । उनी खेलको पहिलो बलमै पाकिस्तानी मोहम्मद इल्यासबाट आउट भए । देव खनालले २० रन बनाए । एक पटक क्याच फुत्किएर पाएको जीवनदानको उनले फाइदा उठाउन सकेनन् । उनले ५६ बल खेल्दा १ चौका प्रहार गरे ।
उपकप्तान रोहित पौडेल १६ र सुनील धमला ४ रनमा आउट भएपछि नेपाल १९ औं ओभरमा ६२–४ को स्थितिमा पुगेको थियो । आरिफ शेख र विनोद भण्डारीले पाँचौं विकेटमा ४७ रनको साझेदारी गरे । पृथुले सानदार क्याच गरेपछि पेभेलियन फर्किएका विनोदले ५१ बल खेलेर ३ चौकासहित ५६ रन बनाए ।
आरिफले ६० रनको अविजित इनिङ्स खेले । उनले ७४ बल खेल्दा ५ चौका प्रहार गरे । सोमपाल कामी २ रनमै आउट भए । आदिल अन्सारीले दुई छक्का प्रहार गर्दै ११ बलमा १६, करण केसीले १७ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २१ र कप्तान सन्दीप लामिछानेले ७ रन बनाए । अल स्टार्सबाट मार्टी केइनले ६ ओभरमा १ मेडन राख्दै ३ तथा इल्यास र आदिल भाटीले २–२ विकेट लिए ।
इन्डियन प्रिमियर लिगमा किंग्स इलेभेन पन्जाब र हैदराबादबाट खेलिसकेका विपुल शर्माले ५० रन बनाएपछि पेरिरी भ्यु क्रिकेट कम्प्लेक्स मैदानमा नेपाली अल स्टार्सले ३३.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द म्याच शर्माले ५१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।
एन्ड्रेज गाउस र उदय कौलले पहिलो विकेटमा आक्रामक हिसाबले ९ ओभरभित्र ५५ रन जोडेर अल स्टार्सको विजय आधार तयार पारेका थिए । कौल १३ रनमा आउट भए भने गाउसले ३३ बल खेल्दै ९ चौकासहित ४५ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले कौल र गाउससहित नितिश कुमार (९), पृथु (०) र केइन (१२) लाई आउट गरी ५ विकेट लिए पनि शर्माको इनिङ्स अल स्टार्सलाई विजय दिलाउन पर्याप्त बनेको थियो ।
सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर ५ विकेट लिएका हुन् । नेपालबाट अर्को एक ओभर किशोर महतोले लिए । अल स्टार्सका गौरव बजाजले ५८ बल खेलेर २ चौकासहित अविजित ४० रन बनाए । विजयी र उपविजयी टोलीलाई गैरआवसीय नेपाली समाजका अध्यक्ष बुद्धिसागर सुवेदी र ह्युस्टन नेपाली समाजका अध्यक्ष विष्णु नेपालले पुरस्कृत गरे । नेपालले शनिबार यसै मैदानमा ह्युस्टन हरिकन्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ । विश्वकप लिग २ को खेल जुन ८ देखि सुरु हुनेछ । नेपालले जुन ९ मा ओमानसँग आफ्नो पहिलो खेल खेल्नेछ । जुन ११ मा अमेरिका, १४ मा ओमान र १५ अमेरिकासँग लिग २ का खेल खेल्ने तालिका छ ।

Page 9
कोसेली

हर्मोनहरूको कस्मिक नृत्य

- शैलीका छेत्री

 

समाजशास्त्रले मानव विकासलाई उच्चतर स्तरमा राखेर किन नहेरोस्, जीवन त उही पिट्युटरी ग्रन्थिबाट लगातार प्रवाहित भइरहने रासायनिक स्राबको कठपुतली मात्रै हो । त्यसैले त प्रत्येक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा कुनै न कुनै बेला यस्ता हर्मोनल परिवर्तनको अवस्था भोगेको हुन्छ । सोच्नुस् त, हो कि होइन ? मैले पनि त यति वर्षको जीवनकालमा हर्मोन एस्ट्रोजन अनि प्रोजेस्टेरोनको उतारचढावमा कैयौं शारीरिक परिवर्तन अनुभव गरिसकेँ । सानी बालिकादेखि उर्वरक स्त्री बन्ने मार्गमा छातीमा बिस्तारै विकसित हुँदै गरेका स्तनको आकारले शारीरिक गठनलाई बदल्यो भने अहिलेसम्म मेरो योनिले २ सय ४० पटक महिनावारीको रक्तप्रवाहलाई सहन गरिसकेको छ ।
पुतलीको पँखेटामा अंकित सुन्दर डिजाइनभित्र भौतिक विज्ञानले केअस सिद्धान्तका जटिल हिसाब देख्छ । र, यस्तै जटिलतम हिसाबका उत्तरभित्र प्याटर्न रचनाका सुन्दरतालाई पनि ईश्वरीय कोड ठान्छ । प्रकृतिभित्र झुसिल्कीराको पुतली बन्ने प्रक्रियालाई प्राकृतिक विशिष्टता नमानी केवल हर्मोन इक्डिसोनको क्रमिक नृत्य ठान्छ जीवविज्ञान । तर, जे भनोस् विज्ञान– यस्तै अनौठो प्राकृतिक प्रक्रिया वरिपरि नै त घुमिरहेको हुन्छ, जीवनचक्र । त्यसैले अचेल मलाई जीवन रहस्यमय हर्मोनहरूको कस्मिक नृत्यजस्तो भान हुन्छ ।
भन्छु– बडो अनौठो छ जैविक परिवर्तन । यस्तै प्रकृतिका परिवर्तनको चलखेलमा भविष्यमा मेरो शरीरले प्रौढताको सीमारेखालाई छुनेछ अनि नयाँ परिवर्तनको गवाही दिँदै रक्तस्राब बन्द भएको कैयौँ अप्रिय लक्षणलाई पनि अनुभव गर्नेछ । सायद, मेरा निम्ति त्यो क्षण बडो संवेदनशील अनुभूत हुनेछ । कारण प्रत्येक स्त्रीको शारीरिक अनि मानसिक गठन बेग्लै भए पनि, यस परिवर्तनले कतिपय स्त्रीलाई अलिकति पनि असर पार्दैन भने संवेदनशील स्त्रीको श्रेणीमा पर्नेहरूले त यस परिवर्तनको लक्षण मात्रै नै घबराहट अनुभव गरेका हुन्छन् । तर, जैविक परिवर्तनका विषय जेजस्तै होस्, आम जीवनमा हत्तपत्त सबैलाई बिहानीको अछुतो समयमा साधारणभन्दा साधारण बन्न मन पर्दो हो, जसको केही गर्नु पनि साधारण अर्थको मापदण्डसम्म मात्रै सीमित हुन्छ ।
यस्तै साधारण बन्न मलाई पनि मन पर्छ । त्यसैले इलेक्ट्रोनिक्स अनि तकनिकी ग्याजेट हेरेर नयाँ दिन सुरु गर्ने पक्षमा म छैन । तर, त्यो दिन बिहानै मेरो मोबाइल फोनको घण्टी बज्यो । मैले तुरुन्तै उत्तर दिनु उचित ठानेँ । त्यो फोन मृदुला दिदीको थियो । सधैँ हँसमुख स्वभावमा बातचित गरिरहने मृदुला दिदीलाई त्यस दिन बडो गम्भीर भावमा सुन्नु मेरा निमित्त प्रश्नहरूको भ्रम जालीमा आफूलाई छटपटाइरहेको अनुभव गर्नु समान थियो । हुन पनि मान्छेको मनभित्र जतिखेर अज्ञात परिवर्तनले सहनशीलताको सीमाघेरा पार गर्दोरहेछ नि, त्यतिखेर मनभरि डर र त्रासको बोध सृजना हुँदोरहेछ । हो, यस्तै परिवर्तनको चक्रमा अल्झेकी थिइन् मृदुला दिदी ।
त्यसैले एकदमै कम्पित स्वरमा दिदीले भनेकी थिइन्, ‘शैली ! बुझ्न सकेकी छुइनँ, खै अचेल के भएको मलाई ? बिनाकारणमै मुटुको धड्कनमा तेजी आएको अनुभव हुन्छ, सँगै शरीरभित्र तातो लाभा विस्फोट हुन्छजस्तो हुन्छ । यो गर्माहट यस्तो असह्य हुन्छ नि, मेरो सम्पूर्ण शरीर नै पसिनाको धारामा लतपत बन्छ । मानौं दिउँसोको चहकिलो घाममा मरुभूमिको तपिलो बालुवामा म नग्न उभिएकी छु । पहिले त मलाई मेरो यस्तो स्थिति हार्ट अटेकजस्तो भान भएथ्यो । तर, जब मैले मेरो लक्षणसित मिल्दो अनुसन्धान गरेँ नि, त्यतिखेर थाहा लाग्यो– म रजोनिवृत्तिमा प्रवेश गरिसकेकी छु र लगातार मेनोपजको संक्रमणमा नूतन परिवर्तनतर्फ जबरन ठेलिँदै छु । पहिले–पहिले त अनुहारमा यस्तो गर्मीको भान हुनु असहज लाग्थ्यो, तर यस्तो ‘हट–फ्लास’ सुरु हुन्छ भन्ने चिन्ता झन् भयप्रद थियो । यति मात्र कहाँ हो र, मलाई निदाउनु पनि अचेल कष्टकर लाग्छ र दिनदिनै म अनिद्राको रोगी नै बन्न पुगिसकेकी छु । मेरो कामुकताले पनि बिस्तारै दम तोडिसकेको छ । र, अचेल योनिमा एक प्रकारको सुक्खापन फिल गरेपछि मेरो यौन इच्छामा पनि परिवर्तन देख्छु । जुन यौनक्रीडामा सन्तुष्टि थियो, त्यसैले मलाई बोरियत भाव दिन्छ । उहिले एस्ट्रोजेन हर्मोनको बोलवालामा आकर्षक देखिने शरीरमा प्रौढताको थकावट हावी बनिसकेको छ । मेरो रक्तस्राब पनि बिस्तारै सात दिनदेखि घटेर पाँच दिनसम्म देखिन लाग्यो, जसरी उमेर चालीसको आँकडाबाट बढ्दै गयो नि पिरियड पनि बिस्तारै कम हुँदै, खै आज त एक वर्ष बित्यो पिरियड नदेखेको । हो, यसरी नै प्रत्येक महिना, म स्त्री हुँ भन्ने अनुभव मभित्र लुप्त बन्यो । फेरि शैली ! हाम्रो समाज पितृसत्तात्मक संस्कृतिमा आधारित छ, यहाँ चालीस प्लस पुगेका स्त्रीलाई सेक्सुअल आनन्दको कसौटीमा वृद्ध महिला करार गरिन्छ भने पुरुष त्यही वर्षतिर यौनको चरमतामा रमिरहेको हुन्छ । मानौँ, स्त्रीको स्त्रीत्व केवल एस्ट्रोजन हर्मोनको प्रवाहसम्म मात्रै सर्वोपरी थियो र जब एस्ट्रोजनको मात्रा स्त्रीमा घट्यो, त्यस क्षण उसलाई रजोनिवृत्तिले पनि च्याप्यो र उसमा कामुकता कम भएको ट्याग पनि लाग्यो । र, त बिस्तारै उसको शरीरमा समाजले नै स्त्रीत्व शून्य बनायो । तर, मलाई त अहिले रजोनिवृत्तिभन्दा आफूमा सुरु भएको बुढ्यौलीपनको (एजिङ) प्रक्रिया पो चिन्तामूलक लागेको छ । एजिङले बिस्तारै मेरो शरीरमा कैयौँ बिरामीलाई निम्त्याएको छ, त्यसैले कुन्नि किन मलाई मेरो यस्तो रूपान्तरण दुःस्वप्नभन्दा कम लागेको छैन ।’
विज्ञान र बुढ्यौलीपन
मृदुला दिदीको यस्तो स्वभोगाइको विश्लेषणमा एकै क्षण म अन्योलमा परें । लाग्यो, आखिर सबै जीवन्त प्राणीले जीवनको अन्तिम पढावमा भोगेको सत्य नै एजिङको बाटो हुँदै मृत्युलाई प्राप्त गर्नु हो । त्यसैले एजिङबारे कुरा गर्दागर्दै मेरो मस्तिष्कमा त्यस क्षण ओहोरदोहोर गरिरहेको थियो, जीवविज्ञानका दक्ष प्रोफेसर विशाल सरको त्यो चाखलाग्दो लेक्चर ।
सर भन्ने गर्थे, ‘शरीर बूढो हुनु वा यसमा एजिङको लक्षण देखिनु एक प्राकृतिक प्रक्रिया हो । शरीरमा लगातार भइरहेको कोशिका विभाजन, विकासको क्रम अनि प्रजनन प्रक्रियाले कोशिकाका डीएनएलाई कैयौं क्षति पुर्‍याउँछ । जीवविज्ञान यसैलाई सोमाटिक हानि भन्छ । डीएनएमा यसरी आइरहेको हानिलाई रोक्न कोशिकाले दुईवटा प्रक्रिया चलाएको हुन्छ– एपोप्टोसिस र सेलुलर सेनिसेस, जसले शरीरबाट बुढ्यौली कोशिकालाई लगातार हटाउने काम गरिरहेको हुन्छ । र, यही प्रक्रियाको फलस्वरूप जीवको शरीर क्यान्सरजस्तो भयानक रोगबाट बाँचिरहेको हुन्छ । तर, फेरि यही एपोप्टोसिस अनि सेलुलर सेनिसेसले नै बिस्तारै शरीरमा बुढ्यौलीपनलाई पनि निम्त्याइरहेको हुन्छ ।’
जीवविज्ञानका प्रोफेसरको यस्तो गम्भीर विषयको अर्थपूर्ण लेक्चरमा अत्यन्त भावुक बनेको थियो क्लास । त्यसैले होला सरले क्लासको गम्भीरता पन्छाउने टोनमा त्यसबेला भनेका थिए, ‘तिमीहरू चिन्ता नगर, बरु आफूमा चल्दै गरेको विकासक्रम अनि प्रजननको प्रक्रियालाई रोक्ने बाटो खोज, जसरी हिन्दी चलचित्र कृश–२ मा नायकको पिताले खोजेका थिए– ८० डिग्री सेल्सियसमा तरल नाइट्रोजनमा चुपचाप बसेर । हो त्यसरी न त कोशिका विभाजन हुन्छ, न त कोशिकाको मृत्यु हुन्छ, न त एजिङ, न त पढ्नुपर्ने डर, न त प्रतियोगिताको चिन्ता, न त मृत्युको डर ।’
हुन त त्यस दिन सरले एजिङजस्तो जटिल विषयमा ठट्टा गरेका थिए । तर, हामीलाई याद छ– मर्ने डरले मानिस जन्माउँछ । र, डरले चाहिँ संस्कृति जन्माउँछ । तर, यहाँ त गम्भीर एजिङको प्रक्रियामाथि कुरा हुँदै थियो । खोजिँदै थियो– आखिर चालीस प्लसपछि मानव शरीरले बुढ्यौलीपन भोग्छ ? मलाई लाग्छ, यस प्रश्नको उत्तरसम्म नपुगी हामीले मेनोपजलाई बुझ्न सकेका हुँदैनौँ ।
यस्तै एजिङ बुझाउन नोबेल पुरस्कार विजेता एलिजाबेथ ब्लेकबर्नले सन् २००० मा पुरानो रोगले ग्रस्त बच्चाका आमाहरूमा एजिङको प्रभावमाथि खोजी गरेकी थिइन् । एलिजाबेथको निष्कर्ष थियो, ‘एपोप्टोसिस अनि सेलुलर सेनिसेसले डीएनए टेलामरेजको आकारलाई लगातार घटाउने काम गरिरहेको हुन्छ । र, जति डीएनए टेलोमरेजको आकारमा छोटोपन आउँछ, कोशिकामा बुढ्यौलीपन पनि हावी हुन्छ ।’ यही अध्ययनले समयअघि नै बुढ्यौलीपन भोग्नुको मूल कारण जीवनमा बढ्दै गरेको मानसिक चाप हो भनेर प्रमाणित पनि गरेको थियो । र, थाहा लागेको थियो– स्त्रीको शरीरमा रजोनिवृत्तिको उमेर नपुगी, चालीसको पढावतिर नै कसरी
मेनोपज देखापर्छ ? हो, यही वैज्ञानिक प्रमाणको कसौटीसित मिल्दो अवस्था मालती दिदीले पनि भोगेको हुनुपर्छ । लोग्नेको अचानक मृत्युपछि मालती दिदीले एक्लै ‘डाउन सिन्ड्रोम’ भोगिरहेकी छोरी अनि ‘पार्किन्सन’ रोगले ग्रस्त बिरामी सासू–आमाको स्याहारसुसारमा बाँकी जीवन होमिदिएकी थिइन् ।
हुनपर्छ, त्यो डिसेम्बरको कुनै चिसो महिना थियो । म छुट्टीमा सिक्किम पुगेकी थिएँ दिदीलाई भेट्न । सधैंजसो रक्तिम आभामा धपक्क बलेको दिदीको अनुहारमा पिलिया रोगीजस्तो पहेंलोपन हावी देखिन्थ्यो । अनुहारभरि डण्डीफोर, एक प्रकारको सुक्खापन र हावी बन्दै गरेको अनुहारको चाउरीपनमा दिदी एकदम प्रौढ देखिन्थिन् । मानौं, ५० को पढाव पार गरिसकेकी छिन् । तर, मलाई थाहा थियो– त्यही वर्षको डिसेम्बरमा त हो मालती दिदीले चालीसको धार टेकेकी । जे होस् मलाई यसरी सिक्किममा अचानक देखेर दिदी अत्यन्तै खुसी भइन् र आत्तिँदै अँगालोमा बाँधिन्, मतर्फ बढिन् । तर, यो के ? दिदीको कदममा पहिलेजस्तो शक्ति थिएन । उनी एकदम अप्ठ्यारो प्रकारले हिँडिरहेकी थिइन् । दिदीको यस्तो हालतले मेरो मनमा पीडाको हजार सुईले घोचिरहेथ्यो । त्यसैले तुरुन्तै मैले दिदीलाई उनको यस्तो प्रौढ बदलावबारे सोधिहालेँ । दिदीले भन्नुभएको थियो, ‘खै, कैयौँ महिनादेखि पिरियड र रक्तस्राव पनि एकदम हेभी हुन्छ । साधारण सेनेटरी प्याडले रक्त थाम्नु नसकेको खण्डमा वयस्क डायपरको लगातार प्रयोग गरें । त्यसको प्रयोगले हो कि बिस्तारै मूत्ररोगले पनि मलाई च्याप्यो । मेरो स्वभावमा पनि एक प्रकारको चिडचिडापन हावी बनेको छ । त्यसैले मलाई शृंगार, न त पुरुषको समागममा नै रुचि छ । खै, के भएको ? एक्लोपन पो अचेल प्रिय लाग्छ ।’
हुन सक्छ, मालती दिदीको माहवारी (मासिक) चक्रमा देखा परेको बदलाव उनको जीवनमा कहिल्यै नसकिने तनाव अनि सानै उमेरमा लोग्ने गुमाएपछि उब्जने एक्लोपनको भयंकर पीडा थियो, जसलाई एलिजाबेथ ब्लेकबर्नले आफ्नो अध्ययनद्वारा समाजलाई बुझाइसकेकी छन् । यसरी पीडाको भोगचक्रमा लगातार पिसिँदै चालीसको अन्ततिरै दिदीको पिरियड सधैँका निम्ति बन्द भयो । अहिले मालती दिदी मेनोपजमा छिन् ।

आखिर मेनोपज के हो ?
मेनोपज/रजोनिवृत्ति स्त्रीको मासिक/पिरियड चक्रको प्राकृतिक समाप्ति हो । जीवविज्ञानले रजोनिवृत्ति प्रायः ४५–५५ वर्षको उमेरबीच हुन्छ भन्छ । रजोनिवृत्ति–समयमा स्त्रीको अण्डाशयमा अण्डा उत्पादन बन्द भएकाले, प्रजनन हर्मोन एस्ट्रोजनमा लगातार कमी देखिन्छ । त्यसैले रजोनिवृत्ति कुनै बिमारी होइन, यो छोटो संक्रमणकाल मात्रै हो । वास्तवमा महिनावारीमा गर्भाशयबाट निसेचित डिम्बको अन्त्येष्टि हुन्छ । अनि डिम्बको यस्तो दुःखद मरणमा नारी गर्भाशय प्रत्येक महिना दुःखले रोएको हुन्छ । र, उसको त्यो आँसुचाहिँ रजश्वलाका रूपमा योनिबाट बाहिर निष्कासित हुनेगर्छ । यस्तैगरी मेनोपज पनि निसेचित डिम्बको दुःखद मरणमा प्रत्येक महिना रुनुपर्ने बध्यताबाट नारी गर्भाशय सधैँका निमित्त स्वतन्त्र बनेको सुन्दर क्षण हो ।
रजोनिवृत्तिको पढावमा उभिएर स्त्रीले आफूमा परिवर्तन हुँदै आएको शारीरिक, मानसिक, भावात्मक, आध्यात्मिक अनि यौन पक्षबारे फेरि नूतन रूपमा परिचर्चा गर्न सक्छिन् । मलाई लाग्छ, स्त्रीलाई आफ्नो स्वअस्तित्व पुनः प्राप्त गर्नु छ भने गर्भाशयमा अण्डाशयको मृत्यु भएको क्षण उसले पर्खिएको हुनपर्छ । कारण महिनावारी हुनुपूर्वको अवस्थाजस्तो हुन्छ, मेनोपजमा हुँदा स्त्री उही बाह्र वर्षकी केटी नै बन्न पुग्छे, जसलाई महिनामा २५ होइन ३० दिन हुन्छ भन्ने भलिभाँति थाहा हुन्छ । हुन त स्त्रीका निमित्त रजोनिवृत्तिका लक्षण सहनु कम सजिलो छैन । यसको प्रभावमा शरीरले अनेक लक्षण देखाइरहेको हुन्छ । जस्तो ः अनियमित पिरियड या भारी रक्तस्राव, अनुहार वा शरीरको छालामा रूखोपनसित कपाल अनि नङको प्राकृतिक चमकमा कमी, अकारण चिन्ताले उब्जाएको अनिद्रासित बढेको मुटुको धड्कन र यी सबैका कारण शरीरमा थकावटसित मनभरि डिप्रेसनको नकारात्मक प्रभाव । अन्य लक्षण ः स्वभावमा चिडचिडापनसित
‘हट–फ्लास’ ले सम्पूर्ण शरीर पसिनामा लतपत बन्ने क्रम, अकारण आएको टाउको दुखाइले बढाएको उच्च रक्तचाप र योनिमा सुक्खापनसित लगातार कामेच्छामा आएको कमी ।
यस्तो रजोनिवृत्तिको अप्ठ्यारो समयमा सकेसम्म स्त्रीलाई मानसिक तौरमा साथ दिएको राम्रो । तर, म जान्दछु– स्त्रीका निम्ति जीवन एकदमै अविश्लेषणीय छ, जटिल छ, गणितका कठिनतम प्रश्नजस्तै । तर, गणित र स्त्रीमा त अन्तर छ नि, होइन र ? गणितको शेषमा सधैंजसो समाधान हुन्छ, तर स्त्रीको हिस्सामा शारीरिक, मानसिक अनि सामाजिक गणितहरूको सही समाधान नै हुँदैन । समाजले मेनोपजपछि स्त्रीलाई आफ्नो प्रौढताको मर्यादा कायम राख्ने सभ्यताको निर्दयी चाबुक खाएर बाँच्न बाध्य बनाउँछ । त्यसैले स्त्री पनि चिच्याएर समाजले दिएको प्रौढताको ट्यागविरुद्ध प्रतिवाद गर्ने सभ्यतामा अझै उक्लेकी छैनन् । तर, ‘सभ्यता’ भन्ने शब्दलाई मैले सधैँ ब्राको तुना बाँध्दा वा कम्मरमा पतलुनको पेटी कस्दा मात्रै सम्झेको हुन्छु । सभ्यताको सर्वोत्तम अवस्था कुन हो, मेरो मस्तिष्कले अझै समाधानै गर्न नसकेको विषय हो । ब्राको तुनाले जीउमा बाँधिसकेपछि वा कम्मरमा पेटीले टन्न कसिसकेपछि सभ्यता मेरो जीवित शरीरमा आश्रित हुन्छ कि ब्रा, तुना वा पेटीमा ? या समाजको दृष्टिमा ? कारण मानव विकासक्रममा आदिम मानव सभ्यताचाहिँ नग्नवादी नै थियो । तर, म स्त्री हुँ । त्यसैले कैयौँ मर्यादा, लाज अनि डरमुन्तिर मुछिँदै बबुरो म निधारमा हत्केला राखी सधैँ सोच्छु– ‘आखिर स्त्रीलाई समाजले किन रजोधर्म ब्लिडिङ वा रजोनिवृत्तिजस्तो प्राकृतिक प्रक्रियामा लज्जित बन्न सिकाउँछ ?’
सायद, साँघुरो सभ्यतासित बाँचिरहेका जमातलाई मेरो यस्तो अनभिज्ञता माफी माग्नुपर्ने प्रकारको लाग्छ । तर, जतिखेर खुला विचारका कुनै परिचित व्यक्तिले सभ्यताको बाहुल्य निर्धारण गर्न मैमाथि अमोघ प्रश्न प्रहार गर्न थाल्छ, त्यस क्षण निश्चय नै म लज्जित भएको हुन्छु । त्यसैले चाहे तरुण अवस्थाको चरम पढावमै उभिएको किन नहोस्, युवा–काँधमा हजारौं मान्यता, जिम्मेवारी, पीडा, दयनीयता, पराजय, रोग, लज्जाको बोझमुन्तिर मेरो शरीरमा मेनोपज सुरु हुनुअघि नै एजिङको विशृंखल प्रभाव झल्किन थालेको छ ।
त्यसैले जतिखेर म ऐनाअघि उभिएर आफ्नो स्त्रीत्व खोजिरहेको हुन्छु, खै कुन्नि किन अनुहारमा हराउँदै गरेको कसाव, यसको छालामा पर्दै गरेको प्रौढताको गहिरो चिह्न अर्थात् चाउरीले च्वास्स घोच्छ । र, जतिखेर मेरो मस्तिष्कमा ज्ञानलाई नापिरहेको हुन्छु, दिनदिनै उमेरसित रूखो बन्दै गरेको कपालले पो मलाई अतंकित पार्छ ।
हुन सक्छ, मेरो यस्तो स्थिति सौन्दर्यको भुखो जमातका निमित्त बुढ्यौलीपनतर्फ अग्रसर बन्दै गएको प्रथम चिह्न हो । तर, यो जमातचाहिँ को हो, जसले स्त्रीलाई अनुहार हेरेरै प्रौढ वा वृद्ध करार गर्छ ? यी सबै त केवल हेर्ने दृष्टिकोणसम्म मात्रै त सीमित हुन्छ । भन्नुहोस् त नदीको पानी र तलाउको पानीमा के अन्तर छ ? आखिर दुवै पानी नै हो । त्यो त पानीमा डुब्ने व्यक्तिमा पो निर्भर हुन्छ, उसले त्यो पानीबाट मोती भेट्टाउँछ कि ढुंगा ! होइन र ? त्यसैले भन्छु, स्त्री जतिसुकै उमेर पुगेको होस्, उर्वर चरण अर्थात् रजोधर्ममा वा निषेचित चरण अर्थात् मेनोपजमा होस्, स्त्री केवल स्त्री हो । सिंगो मानवजातिको एक सबल प्रतिनिधि हो ।

रजोनिवृत्ति र जनावर
जब म मानव स्त्रीमाथि जीव वैज्ञानिक तथ्यहरूको विवेचना गर्छु, मलाई खुब खट्केको विषय हो– प्रकृतिको पक्षपाती खेल, स्त्रीले आफ्नो जीवनमा भोग्नुपर्ने रजोधर्म र रजोनिवृत्ति । तर, जतिबेला मैले रजोनिवृत्ति जनावरमा पनि भएको देखेँ, त्यतिबेलादेखि स्वतः प्रकृति पक्षपाती लागेन । बरु यस तथ्यले मलाई अलिकति भए पनि सहज बनायो । कारण यसले मेनोपजमार्फत स्त्रीलाई हर्मोनल परिवर्तनको लाभप्रद पक्ष हेर्न सिकाइरहेको हुन्छ । ठूलो पोथी जनावर (जस्तै किलर ह्वेल, नखाल, साटँ–फिनेई पायलट अनि बिलुग ह्वेल) ती हुन्, जसमा रजोनिवृत्ति देखिन्छ । अनुसन्धान भन्छ, वृद्ध हत्यारा पोथी ह्वेलमा प्रजननपछि छिट्टै रजोनिवृत्ति देखा पर्छ । रजोनिवृत्ति भएपछि ह्वेल अझै ३०–४० वर्षसम्मै जीवित रहन्छ । प्रजनन या रजोनिवृत्तिपछि पोथीले आफ्नो बथान या समूहको भलिभाँति नेतृत्व गर्छ । ‘नेचर’ नामक पत्रिकाको लेख ‘ओल्ड फिमेल’ ले रजोनिवृत्ति भइसकेका बूढी ह्वेलमा पारिस्थितिक ज्ञानको अधिकतम विकास भएको कुरा गर्छ, जसको फलस्वरूप बथानका युवा भाले प्रायःजसो बढ्दो उमेरका पोथीकै नेतृत्व अनुसरण गर्छन् । यस्ता रजोनिवृत्तिमा पसेका कैयौं जनावर प्रकृतिमा हुन्छन्, जसले रजोनिवृत्तिपछि बथानको नेतृत्व गरिरहेको हुन्छ ।

रजोनिवृत्ति चासो
जब मैले रजोनिवृत्ति बुझ्न सिजान सोमर्सको ‘द सेक्सी इयर्स’ र गेयल सिहीको ‘द साइलेन्ट प्यासेज’ पढेँ, त्यहाँ लेखक रजोधर्ममा उर्वर रहेको स्त्रीत्वमाथि मात्रै आकर्षित भएको पाएँ । दुवै लेखक रजोनिवृत्तिलाई रोग ठानेर, यसबाट निवृत्ति हुन एस्ट्रोजन हर्मोन प्रतिस्थापनबाट पुनः यौवन पाउने विषयमा मात्रै केन्द्रित भएको पाएँ । तर, रजोनिवृत्ति हेर्ने मेरो नजरियाचाहिँ म्याक्स उल्फ भेलेरियोको किताब ‘द टेस्टोस्टेरोन फाइल्स’ ले बदलिदियो । यस किताबमा म्याक्सले रजोनिवृत्तिलाई ‘एक अद्वितीय बदलिँदो आगो’ भनेका छन् । म्याक्सका अनुसार, एस्ट्रोजन हर्मोनको ऐठनबाट जब स्त्री बाहिर निस्किन्छिन्, त्यतिबेला मात्रै उनी स्त्री हुनुको स्पष्टता बोध गर्छिन् । र, त्यस अवधिमा स्त्री एकाएक साहसिक बन्छिन् ।
प्रत्येक स्त्रीमा रजोनिवृत्तिको यात्रा समान हुँदैन । जीवनशैली परिवर्तन अनि लक्षणअनुसारको पोषण आहार ग्रहण गरे रजोनिवृत्तिका प्रभावमा काफी बदलाव ल्याउन सकिन्छ भन्ने तथ्य ज्याकी लिन्चले आफ्नो लोकप्रिय किताब ‘ह्याप्पी मेनोपाज’ मा लेखेकी छन् । यस किताबले हजारौँ मेनोपजल स्त्रीलाई मेनोपजका जटिल परिवर्तनमा पनि आफूमा सकारात्मक बदलाव ल्याउन प्रेरित गरेको छ । यसरी रजोनिवृत्तिको कुरा गर्दा मलाई इटालियन बोल्ड अभिनेत्री मोनिका बेलुचीको याद आउँछ । यस विषयमा मोनिकाले भनेकी छन्, ‘जब म चालीस वर्षकी थिएँ, दुई बच्चाकी आमा बनिसकेकी थिएँ । र, जब पैँतालीस वर्षकी भएँ, एक वर्षसम्म मैले बच्चालाई स्तनपान गराएकी थिएँ । यसको मतलब चार वर्षपहिले मैले स्तनपानसँगसँगै मभित्र रजोनिवृत्ति जन्मेको अनुभूतिलाई पनि एकसाथ चाखेकी थिएँ । र, अहिले म रजोनिवृत्तिदेखि धेरै अघि बढिसकेकी छु । र, मलाई प्रौढतासित प्रेम हुँदै छ ।’ भनिन्छ नि, एज लाइक वाइन ! विज्ञानले पनि यो तथ्य स्विकारेको छ । मानवलाई
बुढ्यौलीमा देखिने दुष्प्रभाव रोकथाम गर्न सुगालेजस्तै एन्टिअक्सिडेन्ट (आयुवृद्धि गराउने) फलहरूको लगातार सेवन, नियमित व्यायाम अनि योगको महत्त्वतर्फ प्रेरित गराउने काम विज्ञानले गरिरहेको छ ।
नोबेल पुरस्कार विजेता ओहसुमीले मेनोपजका कारण स्त्रीमा बढ्दै गरेको एजिङ प्रक्रिया अध्ययन गरेकी छन् । यस अध्ययनमा उनले शरीरमा कोशिका नवीकरण जागृत गराउँदै एजिङ टाढा राख्ने प्रक्रियामा १२ देखि २४ घण्टासम्मको उपवासलाई दीर्घायुसूचक बताएकी छन् ।

प्रौढता एक उत्सव
समयको कालचक्रमा आफू बूढो हुँदै गरेको हेर्नु मानिसलाई एक चुनौतीको विषय नै हुन्छ । तर, यही नै जीवन हो । समयको ज्वारभाटालाई कसले पो रोक्न सक्यो र ! अन्तमा जीवनमाथि मृत्यु हावी हुने नै त हो । तर, प्रौढतालाई पनि उत्सवसरह जिउन सक्नुपर्छ । सायद यसरी मात्रै मेनोपजमा हुने शारीरिक अनि मानसिक बदलावलाई सहर्ष स्विकार्न सकिन्छ होला । हेर्नुस् त, प्रकृति पनि यस्तै प्रौढताको सुन्दरतामा लिप्त बन्दा जीवित पृथ्वी बनेको हुन्छ । आयुर्वेदमा पनि जतिखेर अर्जुन–वृक्ष अनि अशोक–वृक्ष प्रौढ बन्छ, त्यसको प्रौढतासित औषधीय गुण चढेको छालाबाटै मुटुको समस्या र रजोधर्म विकारलाई शरीरबाट हटाउने औषधि बनेको हुँदो हो ।
स्त्रीको हातमा रंगिने गहिरो मेहन्दीले त्यस क्षण मात्रै रङ छोड्छ, जब त्यो सुकेर प्रौढ हुन्छ । एजिङ वाइनको स्वादमा जुन मज्जा हुन्छ, त्यो नयाँमा कहाँ पाइन्छ ? स्त्री पनि प्रजनन अनि रजोनिवृत्ति पार गरेपछि मात्रै पूर्ण बन्छिन् । त्यसैले आऔं, प्रौढताको सुन्दरता स्विकार्दै रजोनिवृत्तिलाई सेलिब्रेट गरौं ।
ह्याप्पी मेनोपज !

 

Page 10
कोसेली

विन्डो पिरियड

- कल्पना बान्तवा

 

कालकिन हतारिँदै लेबर रुम अपरेसन थिएटरको लुगा फेर्ने कोठामा छिरी । पौने आठ बजे आएर इभिनिङका साथीहरूसँग ह्यान्डओभर बुझिसक्नुपर्नेमा सवा आठ बजिसकेको थियो ।
‘उफ ! आज मार्ने भए !’ आफैंसँग बोल्दै ओटीको लुगा लगाउन थाली ऊ । घरबाट हिँड्ने बेला सानी छोरीले आज छाड्दै छाडिन । सानीले हतपती नछाड्ने हुँदा नाइट ड्युटीमा प्रायः अबेला हुन्छ जहिल्यै । हरे ! यो नर्सको जागिर ! केटाकेटी साना छँदा त नाइट ड्युटी एउटा समस्या नै बन्छ नर्स
आमाहरूका निम्ति ।
‘काली ! इमरजेन्सी सिजेरियन सुरु हुन लागेको छ, थिएटरमै आउनु ह्यान्डओभर लिनलाई, बिनाले स्क्रब गरिसकी है !,’ रानु दिदी कोठा बाहिरबाटै बोलिन् । अस्पतालका चिनेजानेका सबैले कालकिनलाई छोटोमीठो ‘काली’ नै पुकार्छन् ।
‘हस् दिदी ! म आइहालें ।’
कालकिन अपरेसन थिएटरभित्र छिर्दा सर्जनहरू, पिडियाट्रिक डाक्टर, अनि उसकै साथी बिना पनि तयार भएर बसेका थिए । अपरेसनद्वारा बच्चा निकालिनुपर्ने महिला अपरेसन टेबलमा पल्टेकी छन् । एनेस्थेटिस्ट (बेहोस पार्ने डाक्टर) चाहिँ ती महिलाको हातमा दुईतीन ठाउँमा कोसिस गर्दा पनि आईभी लाइन खोल्न नसक्दा दिक्क भइरहेका रहेछन् । सलाइन दिन नसकिएकाले अपरेसन सुरु गर्न ढिलाइ भइरहेको रहेछ ।
यस्तोमा कालीलाई लाग्यो, इन्ट्राभेनस एक्सेस नै प्राथमिक हो अहिलेलाई । एनेस्थेटिस्टको सहयोगमा उसले त्यो गर्भवती महिलाको हातको नसामा सलाइनको क्यानुला जोड्न सफल भई, तर दुईतीन ठाउँमा छेडिएको स्थानबाट थोरैथोरै बगेको रगत र रगत लागेका कपासका डल्लाहरूले उसका दुवै हात रंगिए । सलाइन लाउनमा एकोहोरिएकी कालकिनको अर्थोकतिर ध्यानै गएन । ‘काली, ग्लोब्स किन नला’को ?!,’ साथी बिनाले चिच्याएर सोधी उसलाई ।
‘एचआईभी पोजिटिभ केस हो, हामीले त्यत्रो भनेको सुनेनौ ?,’ डा. जोनीको बोलीले कालीको होस उडायो । एक छिन त ऊ केही भन्नै नसकिने भएर लाटिई । उसलाई त्यो अपरेसन कक्ष फनफनी घुमेझैं लाग्यो ।
रगतले रंगिएका आफ्ना हातहरू हेरी, उसका नौनारी गलेर आए । भरिएका आँखामा कलिला बाँसका मुनाझैं रहरलाग्दा साना छोरीहरू र प्यारो लोग्नेका छाया र अनुहार झलझली आए ।
धारामा गएर बेटाडिन झोल साबुनले मलीमली बेस्मारी हात धोई । स्पिरिटले औंलाका काप हुँदी र नङका चेप हुँदी पुछी । अन्तमा स्पिरिटले सिँगो हातै धोई ।
त्यो गर्भवती महिलाको रेकर्ड फाइल पल्टाएर हेरी । रगतको रिपोर्टमा रातो मसीले ‘एचआईभी रिएक्टिभ’ लेखेको देखेपछि उसको धैर्यले साथ छोड्यो, आराम गर्ने रुमको सोफामा घोप्टिएर ग्वाँ ग्वाँ रोई ।
अपरेसन सकिएपछि डाक्टरहरू र साथी आएर कालीलाई सान्त्वना दिन थाले ।
‘हातमा घाउ चोटपटक लागेको छैन भने केही हुन्न, काली ! डन्ट वरी !’
दिउँसो नुहाएर हातखुट्टाका नङहरू फेदै लाएर काटेको सम्झी कालीले । नङको छेउछाउका मरेका छालाहरू काट्दा मासु पनि भेटेको थियो नेलकटरले । तरकारी काट्दा सधैं चक्कुले कोतरेका हातका दागहरू हेरीरही । अहँ, जोगिने कुनै गुन्जायस भेटिन उसले ।
‘पोजिटिभ पेसेन्टको अपरेसन गर्दा मलाई पनि कति पटक निडल प्रिक भा’छ, तर अहिलेसम्म केही भएको छैन । हामी उच्च जोखिम मोलेर काम गर्नेलाई भगवान्ले हात थाप्छन्, चिन्ता नगर ।’
‘डेलिभरी गराउँदा कैयनचोटि हेपाटाइटिस बी पोजिटिभ महिलाको एम्नियोटिक फ्लुडले सर्वांग नुहाइएकी छु म पनि । पीर नगर साथी, केही हुन्न ।’
‘शंका लाग्छ भने डाक्टरसँग कन्सल्ट गरेर एचआईभीको प्रिभेन्टिभ डोज लि’हाल न त !’ सान्त्वनाका शब्दहरू प्रशस्त ओइरिए पनि कालीको चित्तलाई शान्ति प्रदान गर्न कुनैले सकेनन् । नानाथरीका आशंका र चिन्तामा घुलिएर रातभर कालकिन काममा जोतिइरही । उसलाई पक्का आभास भयो कि एचआईभी भाइरस उसको रक्त सञ्चारमा दौडिन थालिसके । ऊ अब एचआईभी पोजिटिभ भइसकी, एकै छिनअघिसम्म ऊ जे थिई अब त्यो रहिन । एक निमेषमा उसको संसार बदलिइसक्यो । अरूलाई सम्झाउन त सारै सजिलो हुने रहेछ, अहिले आफूलाई पर्दा सान्त्वनाका कुनै शब्दले पनि उसका वेदनालाई कम गर्न सकिरहेका थिएनन् । ऊ आफू एक्ली हुँदी हो त तैबिसेक मन बाँध्न सजिलो हुन्थ्यो, तर नाबालक छोरीहरू र लोग्नेलाई जोगाउँदै, सम्हाल्दै घर व्यवहार कसरी धान्ने ? सबभन्दा ठूलो कुरा लोग्नेलाई कसरी बताउने यो कुरा ? विश्वासको ठूलो संकटमा परी कालकिन । लोग्नेमान्छेको मन दुर्घटनावश पोजिटिभ बिरामीको रगत छोइएर एचआईभी सरेको भन्ने कुरा पत्याउने हो/होइन वा श्रीमतीको चरित्रप्रति नै शंका गर्ने पो हो कि ? के भन्न सकिन्छ र ! नर्सको जागिरमा उसै त रातबिरात घरबाट बाहिरिनुपर्छ ।
बिहान ऊ ल्याबमा गएर त्यो महिलाको ब्लड रिपोर्टको अभिलेख हेर्न थाली । ल्याबबोईले भने, ‘सिस्टर ! यी महिलाको रिपोर्ट पोजिटिभ भए पनि एकदमै विक ब्यान्डमा छ, जुन पछि गएर कहिलेकाहीं नेगेटिभमा फेरिन पनि सक्छ । कहिलेकाहीं भाइरल इन्फेक्सन हुँदा कुनै कुनै केसेजमा यसरी एचआईभी पोजिटिभ देखिन्छ कुनै बेला ।’
‘तर, उनको रिपोर्ट नेगेटिभ नै त छैन नि भाइ !’ कालकिन बोली ।
‘त्यो त हो सिस्टर ! सम्भावना जे को पनि छ ।’
कालकिनको औडाहा झनै शान्त भएन । आँखा तिरमिर पार्दै ऊ फर्की । राति अपरेसन गरेको महिलालाई पोस्ट अपरेसन वार्डमा भेट्न गई । २५/२६ वर्षकी ऊ कोल्टे परेरै छोरीलाई दूध ख्वाउने प्रयास गर्दै थिई ।
‘बहिनी ! कस्तो छ अहिले तपाईंलाई ? हिजो तपाईंको अपरेसन हुँदा म पनि त्यहीँ थिएँ ।’ कुरा कसरी थाल्नु भनेर बडो अप्ठेरोमा परेकी कालकिनले त्यति मात्र भन्न सकी ।
‘अरू त ठीकै छ सिस्टर ! खालि दुखाइले गर्दा सजिलै ओल्टेकोल्टे फेर्न सकिरहेकी छैन ।’
‘बहिनी, हेर्नुस् न ! हिजोको अपरेसनमा मैले नांगो हातले तपाईंको ब्लड मज्जाले छोइछु । त्यसैले म ज्यादै चिन्तित छु बहिनी ।’ कालकिनले खुलस्त भनी ।
‘ए तपाईं नै हो रातिको त्यो सिस्टर ? हेर्नुस् सिस्टर ! तपाईंले पीर लिनै पर्दैन । यो ब्लड रिपोर्टलाई म त के मेरा श्रीमान्ले सम्म पत्याउनु हुन्न । हामी एकदमै साधारण र सरल खालका मान्छे हौं । यस्ता जोखिम र सम्भावनादेखि धेरै टाढा छौं हामी दुवै लोग्नेस्वास्नी । मेरा श्रीमान् बैंकमा जागिरे हुनुहुन्छ, म सामान्य गृहिणी हुँ । तपाईंले सलाइन लाइदिएर मेरी छोरीलाई बचाउनमा ठूलो सहयोग गर्नुभएको छ । तपाईंलाई मेरा कारण केही नराम्रो हुँदैन, ढुक्क हुनुभए हुन्छ ।’
उसका कुराले कालकिनलाई केही राहत महसुस भयो । फिजिसियन डा. प्रेमलाई भेटेर आफ्ना खुलदुलीहरू बताई ।
‘अहिले विन्डो पिरियडमा त रगत जाँचेर केही हुनेवाला छैन, ३ महिनापछि ब्लड टेस्ट गर,’ डा. प्रेमले सल्लाह दिए ।
कालकिन घर पुगी ।
ठूली छोरी स्कुललाई हिँडिसकिछ । सानी दौडँदै कृपाको गोडामा छाँद हाल्न आई । ममताले सरर भिज्यो कृपाको छाती । छोरीलाई गम्लंग अँगालेर सधैंको जस्तो स्नेहको तीव्र वेगमा छोरीका अनुहार चुम्नै लाग्दा झसंग भएर सोची, ‘अहो ! अब त मैले छोरीहरूलाई माया गर्न पनि नहुने भो !’
निराशा र मन दुखाइको चरम आवेगमा अढाई वर्षकी छोरीलाई अँगालेर भक्कानो फुटाउन थाली कालकिन । ‘आमा किन रोएको ?,’ आमाको अनुहार मुसार्दै सोध्छे सानी । आफ्ना साना पुक्लुक्क परेका हातले आमाका आँसु पुछिदिन्छे र आफैं माया गरेर चुम्छे आमाका गाला, आँखामा । ओठमा माया गर्न खोज्दा कालकिन मुन्टो बटार्छे किनकि आफ्ना थुकले लतपतिएका ओठले आमाका ओठ चुसिरहने सानीको बानी छ ।
‘उफ ! अचानक यो कस्तो आपत् आइलाग्यो ?’, कालकिन आफूले आफैंलाई सोध्छे । उसको सुखी जिन्दगीमा किन यो भुइँचालो गयो ? अब लोग्नेलाई यो कुरा कसरी बताउने भनेर उसलाई पर्नु पीर पर्‍यो । नभनी पनि त भएन । तर, भन्नासाथ उसको लोग्नेको प्रतिक्रिया के हुने हो भन्ने डरले आत्तिई ऊ । नखाएको बिख लाग्ने भो अब । उसलाई थाहा छ, उसको लोग्ने शिक्षित छ, समझदार छ । ऊ आफैं पनि यस्तै पीडितहरूको पुनःस्थापन गर्ने अन्तर्राष्ट्रिय आयोजनामा काम गर्छ । अरूको दुःखप्रति संवेदनशील छ । तर ? कालकिनलाई राम्ररी थाहा छ कि आखिरमा उसको लोग्ने पनि अन्य सामान्य लोग्नेहरूझैं मानवीय कमीकमजोरी भएको एउटा सामान्य पुरुष हो, जो सायद एचआईभी पोजिटिभ आइमाईको लोग्ने भनेर आफूलाई स्विकार्न सक्दैन । उसले लोग्नेका आनीबानी बिचारी । मुखले जत्ति नै ‘माया गर्छु’ भने पनि केही दिन बूढी बिरामी पर्दा ऊ झर्किन थाल्छ, गनगन सुरु हुन्छ उसको, ‘कति बिरामी भइरहनुपर्ने तिमीलाई ? राति सुत्दा पेट दुख्यो भनेर सुतेकी मान्छे, बिहान उठ्दा टाउको दुख्यो भनिरहेकी हुन्छ्यौ ।’
दुई छोरीकी आमा कालकिनको स्वभाव अझै पनि केटाकेटीजस्तै छ । बिसन्चो हुँदा ऊ चाहन्छे, लोग्ने उसको छेवैमा बसिरहोस्, उसलाई सुम्सुम्याएर माया गरिरहोस् । तर, लोग्नेको स्वभाव ठ्याक्कै उल्टो छ, जरो आउँदा एउटा सिटामोल निलेर सिरकले मुख छोप्दै लम्पसार परेर निस्फिक्री निदाउँछ उसको लोग्ने । यस्तोमा कालकिन लोग्नेलाई माया गर्न चाहन्छे, स्नेहले उसको टाउको मुसार्दै सन्चोको अनुभूति दिलाउन चाहन्छे । तर, लोग्ने झर्कन्छ, ‘जाऊ उता ! मलाई डिस्टर्ब नगर ।’
अरूका लोग्ने कस्ता हुन्छन् कुन्नि ! तर, उसलाई उसको लोग्ने भिन्नै खालको लाग्छ । महिनावारी हुँदा बार्ने नगरेकी कालकिनको लोग्ने यस्तो बेला स्वास्नीलाई छोइएला कि भनेर निद्रामा पनि सजग हुन्छ । सकेसम्म बेग्लै ओछ्यानमा सुत्छ । महिनावारी भएकी स्वास्नीलाई छुन, माया गर्न पनि घीन मान्ने उसको लोग्नेले स्वास्नी एचआईभी पोजिटिभ भइछ भनेर थाहा पाउँदा झन् के गर्ला ?
उफ ! कालकिनलाई रिँगटा लागेजस्तो हुन्छ । लोग्ने र छोरीहरू आफूबाट टाढिँदै गएको पूर्वाभास हुन्छ । लोग्नेलाई यो कुरा बताउने आँट गर्नर्र् ैसक्दिन ऊ । सोच्छे, विन्डो पिरियड कटेपछि मात्र भन्नेछ । त्यतिन्जेल जसरी भए पनि जीवन त चलाउनैपर्‍यो । तीन महिनापछि मन दरो पारेर ऊ लोग्नेलाई सबै कुरा भन्नेछ, जे जस्तो परिआए पनि सहने र सामना गर्ने मनस्थिति तयार पारेर । आखिर आकाशै खस्छ रे भने पनि सहनु र पर्खनुको विकल्प छैन नै !
कालकिनको विन्डो पिरियड सुरु भयो ।
त्यससँगै सुरु भयो उसले सहने मानसिक यातनाका पीडा र सकसहरू पनि । ऊ अब धेरैभन्दा धेरै नाइट ड्युटी गर्न थाली । घरमा बित्ने उसका रातहरू भारी मात्रामा कटौती हुन थाले । तर, उसका हतासा र उदासीहरूले घरमा र अस्पतालमा उत्तिकै गिजोलिरहे उसलाई । मानसिक अन्तर्द्वन्द्व र उथलपुथलको चेपुवामा परेर उसले बाँच्नुको नाउँमा जीवनलाई घिसारिरही । घरमा खाना बनाउने, ख्वाउने, ठूली छोरीलाई स्कुलका लागि तयार पार्नेजस्ता उसका घरेलु कामहरू यथावत् चलिरहेका थिए, तर यी कामहरू भ्याउँदा ऊभित्र उम्लिरहने उमंग र उत्साहहरू भने मरिसकेका, सेलाइसकेका थिए । ऊ यन्त्रचालितझैं कामहरू गरिरहन्थी ।
पहिलाझैं उसको लोग्ने अहिले पनि भान्सामा काम गरिरहेकी स्वास्नीलाई पछाडिबाट आएर सुस्तरी अँगाल्थ्यो, माया गर्न खोज्थ्यो । तर, ऊ कुनै बहाना पारेर पन्छिन्थी, पहिलाझैं भावुक भएर प्रत्युत्तरमा लोग्नेसँग लिपिक्क टाँसिने कालकिन अब लोग्नेको सामीप्यसँग नराम्ररी तर्सन्थी । आफ्नो खाने थाल छुट्याएकी थिई, लोग्ने र छोरीहरूको खानामा आफ्नो जुठो पर्ला भनेर हरपल सचेत रहन्थी । अस्तिसम्म यस्ता सावधानीहरू नअपनाईकन निर्धक्क चलिरहेको गृहस्थीको आफ्नो सुखी संसार अनायास कस्तो अस्वाभाविक भएर आयो भन्ने सोच्दा उसलाई आफ्नै माया बेस्सरी लागेर आउँथ्यो । अनि मौका पायो कि त एकान्तमा मुटु चिरिएलाजस्तो गरी रुन्थी ऊ ।
विन्डो पिरियड सुरु भएको पन्ध्र दिनपछि कसो कसो तालमेल र सन्जोग मिलेर उसको लोग्ने धनुष तीन महिनाका लागि स्विडेन यात्रामा जानुपर्ने भयो । कालकिनले एउटा कस्तो कस्तो अडबाँगे सुस्केरा फाली । उदास र निरूपाय चित्तले लोग्नेलाई बिदा गरेर छोरीहरूसँग बेस्वादको समय बिताउन थाली ।
आज कालकिनको मन एकदमै चंगा छ । बिहान उठ्नासाथ एउटा मीठो र मादक हाई काढ्दै छोरीहरूलाई माया गरी । नित्यकर्म सकेर खाना बनाउन थाली । ठूली छोरीलाई स्कुल पठाइसकेपछि गीत गुनगुनाउँदै घर–कोठा पुछपाछ र अन्य सरसफाइ गर्न लागी । सानी छोरीलाई बोकेर बजार गई र केही किनमेल गरी । फर्कंदा अँगालोभरि सेता ग्ल्याडुलस फूल किनेर ल्याई र ठूलो फ्लावर भासमा राखी । आज उसलाई घर सजाउन खुब जाँगर चलेको छ । कुशन कभरहरू फेरि, सोफा कभरहरू धोएर सुकाउन हाली । टी टेबलको दामी क्रिस्टल एस्ट्रेलाई मायाले मुसार्दै सफासँग टल्काई ।
आज उसलाई घरीघरी लोग्नेले भनेका कुराहरू याद आइरहेका थिए, जो कोठालाई हेर्दै मन्त्रमुग्ध हुँदै भन्ने गर्थ्यो, ‘ह्वाट अ कोजी रुम, काली ! ब्युटिफुल ! तिम्रो सेन्स अफ ब्युटीलाई मान्न पर्छ ।’
ऊ आज फेरि मनैदेखि पत्नीका रूपमा लोग्नेकी असल साथी र छोरीहरूकी असल आमामा फेरिएकी पाउँछे आफूलाई । भुइँमा खुट्टा छैनन् कि जस्तो भान हुँदै छ उसलाई ।
बर्बराउँछे, ‘यो घर त्यही हो, म उही हुँ । मेरो लोग्ने, छोरीहरू र मेरो जागिर– सबै सबै उही र उस्तै हुन् । तर, मेरो मानसिकताका र सोचका कारण उस्तै खाले हिजो र आजमा मैले कत्रो ठूलो भिन्नता महसुस गर्नुपर्‍यो, जीवन उलटपुलट नै भो मेरो । मान्छे आफ्ना सोच र विचारहरूको हातको खेलौना नै रहेछ ।
आज कालकिनको लोग्ने ३ महिनापछि देश फिर्दै छ । अनि, विन्डो पिरियडपछिको कृपाको ब्लड रिपोर्टमा ‘एचआईभी अलाइजा नन् रिएक्टिभ’ लेखिएको छ ।
आनन्दविभोर बन्दै कालकिन एकोहोरो भएर बिचार्छे, मैले सोझो लोग्नेलाई मनचिन्ते आरोप लगाएँ । खासमा धनुष उदार विचार र व्यवहारको गुणी पुरुष हो । खुलस्त भनिबस्छ, ‘काली हामी बूढाबूढी साथै नभएको बेला कहिलेकाहीँ प्राकृतिक खाँचो काम बासनाले मर्नु बनायो भने हस्तमैथुन गर्नु कुनै अनुचित काम हैन । म त गर्छु र अन्य महिलाले पनि गरेको नराम्रो मान्दिनँ । पुरुषलाई महिला आकर्षक लाग्नु स्वाभाविकै हो । नारीलाई मन पराउनु वा माया हुनु अपराध हो र ? भए होस् ।’
कालकिनले सोचलाई विस्तार गर्छे– हो त, यस्तो उदार/उदात्त सोचको मानिसले कहाँ विकसित जीवन जगत्का विष्यवस्तुबारे निकृष्ट धारणा राख्छ र !
कालकिन लोग्नेलाई सम्झेर दंग परी ।
उत्तिखेरै बजेको फोनमा सानदाजु बलरामको बोली गुन्जियो, ‘नानू काली ! म आज फर्किएँ काठमाडौं । रंगीन तबियतका धनुषकाजी पटायालगायत पूरै सहर हाट भरेर नांगा भुतुंगा लड्कीहरूसँग डान्स गरेर पछि मात्र आउने अरे । तिमी होस गर्नू । रसिक मान्छेको भर हुँदैन । चरित्रवान्को मखुन्डो भिर्ने मौका नपाएसम्म हो, काली !’

कोसेली

जलवायु परिवर्तनको अर्थ–सामाजिक गाँठो

- राम लोहनी

 

पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यास (कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, फ्लोरिनेटेड) आदिको परिमाण दिनानुदिन बढ्दै गइरहेको छ । यसको मुख्य कारण हो– पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, कोइलाजस्ता जीवांश इन्धन (फोसिल फ्युल) को अत्यधिक उपभोग । यीमध्ये पनि कार्बनडाइअक्साइडको उत्पादन प्रमुख समस्या हो । वायुमण्डलको कार्बनडाइअक्साइडलाई वनस्पतिले शोषण गरेर सन्तुलनमा राख्न खोज्छ । तर, वनस्पतिले शोषण गर्न सक्ने भन्दा कैयौं गुणा बढी कार्बनडाइअक्साइड उत्पादन भइरहेको छ । कार्बनडाइअक्साइड समुद्रको पानीमा घुलेर पानीको अम्लीयपना बढेको छ । पृथ्वीको सतहको तापक्रम क्रमशः बढिरहेको छ । सूर्यबाट निस्कने हानिकारक किरण सोझै पृथ्वीमा आउन थालेको छ । श्वासप्रश्वासमा समस्या उत्पन्न हुन थालेको छ । जैविक विविधता संकटमा परिसकेको छ ।
बढ्दो पर्यावरणीय संकटले मानव अस्तित्व नै खतरामा पर्न सक्ने सम्भावनाबारे विश्व समुदाय सचेत छ । कार्बनडाइअक्साइड उत्सर्जनलाई कसरी कम गर्ने भन्नेबारे चिन्तन–मनन भइरहेका छन् । साना, ठूला, धनी, गरिब सबै राष्ट्रले पर्यावरण जोगाउने प्रतिबद्धता पनि जनाइरहेका छन् । तर, कार्यक्रमहरू परिणाममुखी देखिएका छैनन् । वैज्ञानिक, पत्रकार, साहित्यकार सबैलाई जलवायु परिवर्तन चासोको विषय बनेको छ । भर्खरै अभिवा चोम्स्कीले ‘इज साइन्स इनफ ? फोर्टी क्रिटिकल क्वेस्चन्स अबाउट क्लाइमेट जस्टिस’ शीर्षकको महत्त्वपूर्ण पुस्तक लेखेकी छन् । अभिवाको पुस्तकले जलवायु परिवर्तनका कारण र समाधानको प्राविधिक पाटो मात्रै केलाउने प्रचलित परम्पराबाट अघि बढेर समस्याको संरचनात्मक आधारलाई विश्लेषण गर्ने प्रयास गरेको छ । पुस्तकबाट जलवायु अभियन्ता, विद्यार्थी र सामान्य पाठक हरेकले पर्याप्त लाभ लिन सक्छन् ।
अभिवाका अनुसार, जलवायु परिवर्तनका दुईवटा कारण छन्– जीवांश इन्धनको उपयोग र आर्थिक प्रणालीको संरचना । अहिले पुँजीवादको पछिल्लो ढाँचा नवउदारवादले विश्व अर्थतन्त्रलाई डोर्‍याइरहेको छ । केही समयदेखि नवउदारवादमा संकट देखिए पनि त्यसको विकल्पमा नयाँ अर्थव्यवस्था स्थापित भइसकेको छैन । अभिवाले पुस्तकमा यो शून्यतालाई उपयोग गर्दै पर्यावरण–मैत्री नयाँ आर्थिक व्यवस्था अपनाउनुपर्ने प्रस्ताव गरेकी छन् । पुँजीवादी अर्थ व्यवस्थाले उत्पादन तथा उपभोगको आधारमा समृद्धिको मापन गर्छ । उत्पादन र उपभोग वृद्धि गर्ने रिले दौडमा केही राष्ट्र र विश्वका सीमित मानिस जनसंख्याको ठूलो हिस्सालाई पछि छोडेर धेरै अघि पुग्न सफल भए । आर्थिक समृद्धिको मुख्य आधार ऊर्जा खपत हो । बढ्दो ऊर्जा माग पूर्ति गर्न ऊर्जा संसाधनको दोहन तीव्र गतिमा भइरहेको छ । वनजंगल विनाश हुँदै छन्, खेतीयोग्य जमिन घट्दै छन्, बचेका खेतीयोग्य जमिनहरू धनी राष्ट्रको कब्जामा पुग्दै छन् । मानिसहरू स्वाभाविक रूपले अवसर र समृद्धिको खोजीमा विकसित मुलुकमै केन्द्रित हुन पुग्छन् । फलस्वरूप ‘जलवायु शरणार्थी’ को संख्या दिनानुदिन बढ्दो छ । त्यसैले विकसित जुनसुकै प्रविधिमा विश्व समुदायको समान पहुँच कायम गर्नु जरुरी छ । यो कार्यमा धनी तथा विकसित मुलुकको अतिरिक्त दायित्व रहन्छ । किनभने आज देखिएको जलवायु परिवर्तन तीन/चार सय वर्षदेखिको औद्योगिकीकरण, उपनिवेशीकरण र उत्तरोत्तर सञ्चित वातावरणीय विनाशको परिणाम हो । जलवायु संकट समाधानका लागि संरचनात्मक सुधारलाई पहिलो खुड्किला ठान्छिन् अभिवा । विश्व आर्थिक संरचनाको आधारभूत तत्त्वहरूलाई सम्बोधन नगरी विशुद्ध प्राविधिक सुधारले मात्रै जलवायु परिवर्तनलाई रोक्न सकिन्न । हाम्रा राजनीति पर्यावरणमैत्री हुनु आवश्यक छ, हाम्रा अर्थनीति पर्यावरणमैत्री र समतामूलक हुनु जरुरी । असन्तुलित ऊर्जा खपत र असमान समृद्धिले पैदा गरेको खाडललाई पुर्दै अघि बढे मात्रै जलवायु संकटबाट पृथ्वीवासीले मुक्ति पाउँछन् । त्यसका लागि धनी राष्ट्रहरूले अपनाउने आर्थिक तथा राजनितीक नीति महत्त्वपूर्ण हुन्छ भन्ने तर्क पुस्तकले गरेको छ ।

पुस्तकको संरचना
पुस्तक परिचय खण्डबाहेक पाँच च्याप्टरमा विभाजित छ । अभिवा आफ्ना तर्कहरूलाई प्रश्न–उत्तरको शैलीमा प्रस्तुत गर्छिन् । पुस्तकमा चालीसवटा प्रश्न छन् । पहिलो पाठमा प्रविधिपरक आठ प्रश्न छन् । दोस्रो पाठले नीतिपरक एघारवटा प्रश्नमाथि चर्चा गरेको छ । तेस्रो पाठमा व्यक्तिगत तहमा के गर्न सकिन्छ भन्ने विषयमा छवटा प्रश्न छन् । चौथो पाठले आर्थिक, सामाजिक तथा जातीय/नस्लीय न्यायको सवाललाई आठवटा प्रश्नमार्फत उठाएको छ । पाँचौँ पाठले समस्या र प्रस्तावित समाधानलाई बृहत् फलकमा हेर्ने प्रयास गरेको छ । यी सैद्धान्तिक सवाललाई अभिवाले सातवटा प्रश्नमार्फत सम्बोधन गरेकी छन् ।
जलवायु परिवर्तन आजको अस्वीकार गर्नै नसकिने वास्तविकता हो । यसका भौतिक कारक हरितगृह ग्यासहरूको परिचय र त्यसले वातावरणमा पार्ने प्रभावको प्राविधिक जानकारी दिएपछि अभिवा ‘स्वच्छ’ ऊर्जा, ‘नवीकरणीय’ ऊर्जा र ‘शून्य’ उत्सर्जनमाथि चर्चा गर्छिन् । हरितगृह ग्यास उत्पादन नगरी र वातावरणमा नकारात्मक प्रभाव पैदा नगरी उत्पादन गरिने ऊर्जा स्वच्छ ऊर्जा हो । सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत्, जैविक इन्धन नवीकरणीय ऊर्जा हुन् । तर, यी नवीकरणीय ऊर्जा पनि पूर्ण रूपले स्वच्छ भने होइनन् । सौर्य ऊर्जा र वायु ऊर्जाका लागि ऊर्जा बचत महत्त्वपूर्ण हुन्छ । त्यसका लागि ठूला–ठूला ब्याट्रीहरू आवश्यक पर्छन् । ब्याट्रीका लागि लिथियम, कोबाल्ट, म्यान्गानिज आदिको पर्याप्त पूर्ति हुनु जरुरी हुन्छ । निश्चित समयपछि प्रतिस्थापन गरिरहनुपर्ने हुँदा पुराना ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण हुन जान्छ । त्यस्तै सौर्य फार्म, वायु फार्मको पर्याप्त जमिन चाहिन्छ भने सौर्य ताप र वायुको गति सबैतिर एकनास पनि हुँदैन ।
ठूला जलविद्युत्ले निम्त्याउने पर्यावरणीय समस्या र प्लान्ट स्थापनाका लागि चाहिने जमिन चुनौतीपूर्ण रहन्छ । युरोप र अमेरिकामा उत्पादन गरिँदै आएको विद्युत्को मुख्य स्रोत जीवांश इन्धन हो । जैविक इन्धन (बायोफ्युल) का लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्न ठूलो परिमाणमा खेतीयोग्य जमिन आवश्यक पर्छ, जसले खाद्यसंकट र भोकमरी पैदा गर्न सक्छ । यसले वायुमण्डलमा छोड्ने नाइट्रोजन अक्साइड हरितगृह ग्यास नै हो । त्यसैले निरपेक्ष शून्य उत्सर्जन भन्ने सम्भव कुरा होइन, खुद–शून्य उत्सर्जन व्यावहारिक लक्ष्य हुन सक्छ । उत्सर्जित कार्बनलाई संकलन गरेर जमिनमुनि कतै जम्मा गर्दै जाने वा कुनै काममा प्रयोग गर्ने एउटा प्राविधिक विकल्प हुन सक्छ । तर, त्यसको सम्भाव्यता अहिले नै स्पष्ट भइसकेको छैन । पारमाणिक स्रोत कार्बन उत्सर्जनको दृष्टिले सुरक्षित हुन त सक्छ, तर यसको वातावरणीय जोखिम, लगानी र विश्वव्यापी उपलब्धता चुनौतीपूर्ण छन् ।
नीतिगत सवालअन्तर्गत आजसम्म भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूको चर्चा गरिएको छ । संयुक्त राष्ट्र संघले १९८८ मा एउटा अन्तर–सरकारी प्यानल गठन गरेको थियो । १९९७ मा क्योटो सम्मेलन भयो । यसले क्योटो प्रोटोकल पारित गर्‍यो, तर प्रोटोकलको लक्ष्य कार्यान्वयन हुन सकेन । उच्च कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले कार्बन उत्सर्जन घटाउने सहमति भएको थियो । यो समूहमा चीन थिएन । तर, २००६ पछि कार्बन उत्सर्जनमा चीनले सबैलाई उछिन्यो । क्योटो प्रोटोकलको लक्ष्यबाट चीन मुक्त रहेपछि अमेरिकाले पनि त्यसलाई कार्यान्वयन गरेन । त्यस्तै सरोकारवालाहरूको समूहको एक्काइसौँ पेरिस बैठकले पृथ्वीको बढ्दो तापक्रम नियन्त्रण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रहरूलाई आह्वान गर्‍यो । बाध्यकारी नभएको यस्ता आह्वान कार्यान्वयनमा आएन । २००८ पछिको आर्थिक मन्दी र कोभिड–१९ को विश्वव्यापी लकडाउनले कार्बन उत्सर्जनमा कमी गरेको थियो । तर, परिस्थितिमा सुधार हुनेबित्तिकै कार्बन उत्सर्जन झन् द्रुत गतिले बढ्न थाल्यो । कार्बन उत्सर्जन नियन्त्रण गर्न कार्बन कर, कार्बन उत्पादन सीमा निर्धारण, कार्बन उत्पादन शोधभर्ना (कार्बन अफसेट) आदि प्रयास भए । तर, ती खासै प्रभावकारी भने हुन सकेनन् ।
शक्तिशाली राष्ट्रहरूको ऊर्जाको मुख्य स्रोत जीवांश इन्धन रहनु नै यसको मूल कारण हो । अमेरिकाले आफूलाई आवश्यक ऊर्जाको ६० प्रतिशत जीवांश इन्धनबाटै पैदा गर्छ । चालीसको दशकबाट अमेरिकाले अपनाएको नयाँ आर्थिक व्यवस्था (न्यु डिल) ले समृद्धिलाई लक्ष्य बनाएको थियो, त्यसैले ऊर्जा उत्पादनमा राज्यले ठूलो लगानी गर्‍यो । सत्तरीको दशकपछिको नवउदारवादको बजारवाद र स्वतन्त्रतामाथि अमेरिकाले कानुनी अंकुस लगाउन चाहेन । शीतयुद्धको समयमा ऊर्जाको आवश्यकता झन् बढ्दै गयो । हालै अमेरिकामा ‘नयाँ हरित अर्थव्यवस्था’ (ग्रिन न्यु डिल) को चर्चा हुन थालेको छ । यसले राज्यको हस्तक्षेपमा पर्यावरणमुखी आर्थिक व्यवस्थामा स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेको छ ।
जलवायु परिवर्तनको एजेन्डामा व्यक्तिले गर्न सक्ने प्रयास पनि सामान्य छैन । धनी मुलुकका उपभोक्ताहरूको ऊर्जा खपत अत्यधिक छ । विश्वका दस प्रतिशत जनसंख्याले झन्डै पचास प्रतिशत ऊर्जा खपत गर्छन् भने आधा जनसंख्याको ऊर्जा खपतचाहिँ लगभग दस प्रतिशत मात्र छ । धनी मुलुकमा मासु खपत अत्यधिक छ । अमेरिकामा उत्पादित चालीस प्रतिशत अनाज मासुका लागि पालिने पशुपालनमा खपत हुन्छ । विश्वको अर्को कुनामा भोकमरीको समस्याबाट करोडौँ मानिस पीडित छन् । पशुको मलमूत्रबाट उत्पादन हुने मिथेनको परिमाण पनि उच्च छ । धनी मुलुक र धनी व्यक्तिहरूको गाडी तथा हवाई यात्रा पनि अत्यधिक हुने गर्छ । सीमित यात्रा, साधारण जीवनशैली, कम ऊर्जा खपत, खाद्य सम्प्रभुताले पर्यावरण संरक्षणमा ठूलो योगदान गर्न सक्छ ।
सीमित व्यक्तिहरूको उच्च खपतका कारण वैश्विक असमानता पैदा भएको छ । वातावरणीय संकटको कारण उत्पन्न हुने विभिन्न महामारीबाट पनि गरिबहरू ज्यादा पीडित हुन्छन्, जबकि वातावरणीय संकटमा उनीहरूको योगदान शून्यप्रायः हुन्छ । धनी राष्ट्रले गरेको वातावरणीय फोहोरको मूल्य गरिब राष्ट्रहरूले चुकाउनुपरिरहेको छ । धनी राष्ट्रमा कार्बन उत्पादन भइरहेको छ, गरिब राष्ट्रहरूलाई वनजंगल जोगाउन दवाब दिइन्छ । विश्वव्यापीकरणले उत्पादनमा बाह्यस्रोतीकरण, खपतमा आन्तरिकीकरण गरिरहेको छ । सस्तो श्रमका कारण उत्पादन गरिब राष्ट्रहरूमा हुन्छ, तर उत्पादित वस्तुको उपभोगचाहिँ धनी राष्ट्रहरूमा भइरहेको छ । यसले धनी राष्ट्रहरूले कार्बन उत्पादनको भार अन्य राष्ट्रहरूमा स्थानान्तरित गरिरहेका छन् । नर्वे जीवांश इन्धन निर्यात गर्छ, तर आफूचाहिँ नवीकरणीय ऊर्जा बढी प्रयोग गर्छ । इन्धन निर्यातको फाइदाबाट नर्वे धनी भइरहेको छ । अभिवा प्रश्न गर्छिन्– नर्वेले निर्यात गरेको इन्धनबाट उत्सर्जित कार्बनको दायित्व कसमा हुन्छ ? अभिवा उत्पादनको आधारमा भन्दा उपभोग र लाभको आधारमा कार्बन भार निर्धारण गर्नुपर्ने तर्क गर्छिन् ।
ऊर्जा हरेकको आधारभूत आवश्यकता हो । ऊर्जा मानव अधिकार पनि हो । त्यसैले ऊर्जाबाट नाफा कमाउने प्रवृत्ति तत्काल बन्द हुनुपर्छ । आवश्यकताभन्दा बढी ऊर्जा खपतलाई निरुत्साहित गर्नुपर्छ । यसका लागि अर्थव्यवस्थाको आधारभूत अवधारणामा नै परिवर्तन गर्नुपर्छ । अहिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आर्थिक समृद्धिको परिसूचक मानिन्छ । गरिब झन्झन् गरिब हुँदै गइरहेका छन्, जबकि जीडीपी भने बढ्दो छ । अभिवाको तर्क छ, उत्पादन र खपतमा आधारित समृद्धिको परिभाषै गलत छ । वर्तमान अर्थव्यवस्थाले दिलाउने समृद्धिले वातावरणीय समस्या निम्त्याउने र मानव अस्तित्व नै संकटमा पार्ने अवस्था आउँछ भने अब अर्थव्यवस्था समृद्धिउन्मुख होइन, निवृद्धि (डिग्रोथ) उन्मुख हुनु जरुरी छ । भौतिक समृद्धिको कसीमा केही व्यक्तिको ‘सुख’ लाई अर्थव्यवस्थाको स्तम्भ मान्ने हो भने मानव अस्तित्वको विनाश धेरै टाढा छैन । उपभोग र उत्पादन पृथ्वीले धान्न सक्ने सीमाभित्र हुनुपर्छ । पृथ्वी सीमित छ, पृथ्वीको क्षमता सीमित छ । केट रावर्थको ‘डोनट अर्थशास्त्र’ अनुसार, हाम्रा आर्थिक गतिविधि डोनटको घेराबाहिर (अधिक उपभोग) पनि पुग्नु हुन्न, भित्र (न्यून उपभोग) पनि जानु हुन्न ।
पृथ्वी सबैको साझा हो । त्यसैले सबैले बाँच्ने अवस्था हुँदा मात्रै मानव अस्तित्व जोगाउन सकिन्छ । यसका लागि हाम्रा आर्थिक, सामाजिक नीतिहरू समावेशी र समतामूलक हुनु जरुरी छ । विज्ञान र प्रविधिले सुझाउने उपाय निरपेक्ष हुन्छन् । हालको प्रविधिको क्षमता सीमित छ । भोलिका दिनमा प्रविधिले फड्को मार्न सक्छ । तर, प्रविधि मात्रैले केही गर्न सक्दैन, यदि यसलाई उपयुक्त ढंगले परिचालन गरिएन भने । हाम्रो जीवनशैली, खानपान, सम्पन्नताको अवधारणा आदिमा आधारभूत परिवर्तन वस्तुगत विज्ञानले भन्दा पनि हाम्रा विषयगत प्राथमिकताहरूले निर्धारण गर्ने कुरा हुन् ।

Page 11
कोसेली

जो आए पाँच हजार वर्षअघि

- भोगीराज चाम्लिङ

 

प्राप्त वंशावलीमध्ये सबैभन्दा पुरानो गोपालराजवंशावलीले भन्छ– नेपालमा सबैभन्दा पहिले गोपाल वंशका ८ ‘राजा’ को शासन चल्यो । त्यसपछि गोपाललाई पराजित गरी ३ महिषपाल
‘राजा’ को शासन चल्यो । त्यसो हो भने प्राचीनकालका ती गोपाल र महिषपाल को हुन् ?
पहिलोथरी विद्वान्को मत छ– गोपाल–महिषपालहरू अस्ट्रोल जाति हुन् ।
दोस्रोथरी विद्वान्को मत छ– गोपाल–महिषपाल भनेका नागजाति हुन् ।
तेस्रोथरी विद्वान्को मत छ– गोपाल–महिषपाल भनेका भोट–बर्मेलीभाषीका पुर्खा हुन् ।
चौथोथरी विद्वान्को मत छ– गोपाल–महिषपाल (निप–आभिर) भनेका पशुपालक आर्य गणजाति हुन् ।
पाँचौंथरी विद्वान्को मत छ– गोपाल भनेको वर्तमानका खसहरू हुन् र महिषपाल भनेको वर्तमानका यादवहरू हुन् ।
सारभूत रूपमा भन्दा पहिलो र दोस्रोथरी मत एकै कोटिका हुन् । त्यस्तै चौथो र पाँचौंथरी मत पनि एकै कोटिका हुन् । यो लेखमा यी तीनथरी मतको सत्यतामाथि समीक्षा गर्ने प्रयास गरिएको छ ।
...
सर्वप्रथम इतिहासकार बाबुराम आचार्य, ज्ञानमणि नेपाल, सुदर्शनराज तिवारी, कुलचन्द्र कोइराला र मोदनाथ प्रश्रित लगायतले प्रतिनिधित्व गर्ने पछिल्लो दुईथरी मतबाटै छलफल सुरु गरौं । यहाँ स्मरणीय के भने तिवारीले चाहिँ गोपालहरूलाई मात्र भारोपेली भाषीहरूको पुर्खा मानेका छन् । आर्य मानेका महावंशका हिसाबले खस, आर्य र यादव एकै हुन् । फरक यति हो– खसहरू मूलतः पश्चिम नेपालका पहाडी क्षेत्रमा केन्द्रित भए, वैदिक आर्यहरू उत्तर भारतमा फैलिए । इतिहाससिद्ध कुरा हो कि वैदिक आर्यहरू गाईपालक हुन् । उनीहरूको जीवनमा गाईको यति धेरै महत्त्व थियो कि थुप्रै व्यावहारिक शब्दहरू ‘गो’ (गाई) बाट बनेका छन् । जस्तो कि संस्कृतमा धनाढ्यलाई गोमत भनिन्थ्यो, दूरी बुझाउन गव्युति शब्द प्रयोग हुन्थ्यो, राजालाई गोप वा गोपति भनिन्थ्यो, गाईको दूध दुहुने अर्थमा छोरीलाई दुहितृ भनिन्थ्यो । वैदिक आर्यहरूकै बीच गाईका लागि हुने युद्धलाई गविष्टि र गवेषण भनिन्थ्यो । तर, वैदिक आर्यहरू भैंसीदेखिचाहिँ बिलकुल अपरिचित थिए । उनीहरूले भारत आइपुगेपछि मात्रै भैंसी देखेका थिए । त्यसैले गाईजस्तै रौं भएको भन्ने अर्थमा भैंसीलाई ‘गोवल’ नाम दिएका थिए (रामशरण शर्मा, प्राचीन भारत में भौतिक प्रगति एवं सामाजिक संरचनाएँ, सन् २००६) । भारत आइपुगेपछि वैदिक आर्यहरूको संघर्ष भैंसी पाल्नेहरूसँग चलेको संकेत ‘महिषासुर’ अर्थात् भैंसी (महिष) पालक असुर (राक्षस) लाई दुर्गादेवीले गरेको संहारको कथाले गर्छ । खासमा यो भनेको गैरआर्य भैंसीपालक र आर्य गाईपालकबीचको संघर्षको कथा हो । यो सांस्कृतिक तथ्यले आर्य परिवारभित्रका यादवहरू काठमाडौं उपत्यकाका महिषपाल होइनन् भन्ने नै बताउँछ ।
अर्कोतिर वैदिक आर्यहरूको भारत आगमन र नेपालमा गोपाल–महिषपालहरूको समयको अन्तराल पनि धेरै फराकिलो छ । वैदिक आर्यहरू ३५०० (इसापूर्व १५००) वर्षपहिले भारत प्रवेश गरेका थिए । भारत प्रवेश गरेपछि पूर्वी बिहारसम्म पुग्न उनीहरूलाई ९०० वर्ष लागेको थियो अर्थात् २६०० (इसापूर्व ६००) वर्षपहिले मात्रै वैदिक आर्यहरू पूर्वी बिहार पुगेका थिए (एसके चटर्जी, ‘रेस मुभमेन्ट्स् एन्ड प्रिहिस्टरिक कल्चर’, वैदिक एज, १९५७) । गोपाल र महिषपालहरूको समय वैदिक आर्यहरू भारत प्रवेश गर्नुभन्दा धेरै पहिला हो । निरिश नेपालले नवपाषाणकालको प्रारम्भमै अर्थात् ५,००० वर्षपहिले नै गाई–भैंसी पाल्नेहरूको स्थिर बस्ती बसिसकेको आकलन गरेका छन् (रोलम्ब, अक्टोबर–डिसेम्बर १९८२, जनवरी–मार्च १९८३) । त्यस्तै गाईपालनका लागि रोज्जारोज्जा मैदानहरू चटक्कै छोडेर नेपालका अनकण्टार पहाड (काठमाडौं) तिर आउनुपर्ने कुनै दरकार थिएन वैदिक आर्यहरूलाई । अनि वैदिक आर्यहरू भारतमा आउनुभन्दा पहिले नै आस्ट्रिक (अस्ट्रोल) जातिले पशुपालन सुरु गरिसकेका थिए (एसके चटर्जी, वैदिक एज) भन्ने पनि यहाँ स्मरणीय छ ।
खसहरू पनि कहिले नेपाल आइपुगे भन्नेबारे केही विद्वानहरूले सम्भावित समय अनुमान गरेका छन् । इतिहासकार डा. सुरेन्द्र केसीले खसहरू इसापूर्व २७६–२३६ देखि पाँचौं शताब्दीको बीचमा कर्णाली नदीवरिपरि आइपुगेको बताएका छन् (प्राचीन तथा मध्यकालीन नेपाल, २०५५) । उता भाषाशास्त्री बालकृष्ण पोखरेलले चाहिँ पन्जाबदेखि नेपालसम्मका भारोपेली भाषाका शब्दहरूका आधारमा खसहरू सन् ६०० तिर कुलुब्याँसीमा थिए, त्यहाँदेखि सन् ८०० तिर नेपाल प्रवेश गरे र सन् ११०० तिर पश्चिम नेपालमा बलियोसँग स्थापित भए भनेका छन् (नेपाली भाषा र साहित्य, २०७७) । खसहरूको नेपाल आगमन इतिहासकालको कुरा हो, जबकि गोपाल–महिषपालको समयचाहिँ प्राग्इतिहासकालको ।
तेस्रोथरी मतको प्रतिनिधित्व इतिहासकार कमलप्रकाश मल्ल र सुदर्शनराज तिवारीले गरेका छन् । यहाँ स्मरणीय कुरा के भने तिवारीले भैंसी पालकलाई मात्रै भोट–बर्मेली भाषीका पुर्खा मानेका छन् । मल्लले काठमाडौं उपत्यकाका गाई पाल्ने न्हेत्पाबाट नेवार – नेवाल – नेबाल हुँदै नेपाल नाम रहन पुगेको तथा भोट–बर्मेली भाषामा ‘ने’ भनेको गाई–भैंसी अथवा गाईबस्तु, ‘पा’ भनेको मान्छे (फ्रम लिटरेचर टु कल्चर, सन् २०१५) हुने भएकाले गोपाल–महिषपाललाई भोट–बर्मेलीभाषीका पुर्खा ठहर्‍याएका छन् । पहिलो र दोस्रोथरी मतमाथि छलफल गर्ने क्रममा स्वतः स्पष्ट हुने भएकाले मल्ल र तिवारीको मतबारे यहाँ छुट्टै चर्चा गरिएको छैन ।
...
निरिश नेपाल (रोलम्ब, अप्रिल–जुन, १९८२) ले गोपाल र महिषपालहरूलाई नागजाति भनेका छन् भने डीआर रेग्मी र गोपालसिंह नेपालीले अस्ट्रोल वंशका मानेका छन् । नागजातिबारे लम्बेतान कुरा नगरी छोटोमा के भनौं भने नाना प्रकार र नामका नागहरूको प्रारम्भिक कल्पना कोलहरूले नै गरेका (एसके चटर्जी, वैदिक एज) कारण गोपाल–महिषपालहरू कोल (मुन्डा) जातिका पुर्खा हुन् भन्ने प्रस्ट छ । गोपाल–महिषपालहरू कोल
(मुन्डा) जाति हुन् भन्नका लागि दुई बलिया आधार छन्– सामाजिक–सांस्कृतिक र भाषिक प्रभाव ।
यी दुई आधारमाथि चर्चा गर्नुपहिले कोल (मुन्डा) हरू को हुन् र कसरी नेपाल आइपुगे भन्नेबारे नै चर्चा गर्दा सुल्टो होला । भारतको विस्तृत भाषिक सर्वेक्षण गरेका जर्ज ग्रियर्सन (लिङ्गुइस्टिक सर्बे अफ् इन्डिया, भोल्युम १, पार्ट १) ले एउटा गम्भीर विषय उठान गरिदिएका थिए । उनले अहिले मुन्डा (कोल) हरू मध्यभारतको पहाडी भेगमा बसोबास गरिरहेको भए पनि त्यसभन्दा पहिले उनीहरू (नेपालका) हिमाली क्षेत्रका जंगलहरूमा लामो समय बसेको चर्चा गरेका थिए । त्यस्तै उनले किराती भाषामा मुन्डा (कोल) भाषाको प्रभाव रहेको पनि बताएका थिए ।
त्यस्तै भारतीय इतिहासकार शिवप्रसाद डबरालले भारतको उत्तराखण्ड र नेपालको हिमाली क्षेत्रमा कोल
(मुन्डा) हरू द्रविड, किरात र आर्यहरूभन्दा धेरै पहिला आइपुगेको बताएका छन् (उत्तराखण्ड का इतिहास, भाग २, नवसंवत्सर २०२५) । त्यस्तै मानवशास्त्री क्रिस्टोफ भोन फुरर–हाइमेन्डोर्फ (कमलप्रकाश मल्ल, फ्रम लिटरेचर टु कल्चर, सन् २०१५) के भन्छन् भने नवपाषाण युगको अन्तिमतिर आसामबाट मुन्डा भाषा बोल्ने जाति व्यापक रूपमा फैलिएका हुन् ।
तर, जब हिमाली क्षेत्रमा किरातहरूको विस्तार भयो तब कोल (मुन्डा) भाषीहरू या त किरातीहरूका गाउँसेवक हुन पुगे, या त तिब्बतछेउका हिमाली क्षेत्रतिर कोचिन पुगे । फेरि पश्चिम नेपालबाट प्रवेश गरेका खसहरूले चाहिँ किरातहरूलाई हिमालयका राम्रा चरिचरण क्षेत्रबाट अझ उत्तरी हिमाली क्षेत्रका निर्जन र दुर्गम क्षेत्रतिर धकेलिदिए, जसको परिणाम किरातहरूले ती क्षेत्रमा पहिल्यै बसोबास गरिरहेका कोल (मुन्डा) हरूलाई आफूमा सम्मिलन गरे । यही कारण तिब्बती सिमानामा बसोबास गर्ने किरातहरूमा कोल (मुन्डा) हरूको प्रभाव पाइन्छ
(उत्तराखण्ड का इतिहास, भाग २) । हिमाली क्षेत्रमा कोचिन पुगेका ती कोलहरू भनेका भोटियाहरू हुन् भन्ने विचार बुचानन ह्यामिल्टन (फ्रान्सिस ह्यामिल्टन, एन एकाउन्ट अफ किङडम अफ नेपाल, १८१९) को छ । मुस्ताङ, कुती, लासा र दिगर्चाजस्ता चिसो हिमाली क्षेत्रमा बस्ने भए पनि भोटियाहरूको छालाको रङ अहिले पनि कालो नै रहेको आधारमा उनी यो निचोडमा पुगेका हुन् ।
प्राग्इतिहासकालका ती कोल (मुन्डा) हरूको सामाजिक–सांस्कृतिक प्रभाव नेपालका किरात महावंशका प्रायः सबैमा देखिने गरी नै जीवित छ–
एक, काठमाडौंका भैरव–भैरवी । इतिहासकार डीआर रेग्मी (एन्सियन्ट नेपाल, सन् १९६०) ले काठमाडौं उपत्यकाको पहिलो बासिन्दा अस्ट्रो–एसियाटिक जातिलाई मानेका छन् । त्यो भनेको कोल (मुन्डा) हरू हुन् । उनीहरू पछि मात्रै काठमाडौं उपत्यकामा आइपुगेका हुन् भोटबर्मेलीभाषी मंगोल र द्रविडहरू । नेवारभित्र अस्ट्रो–एसियाटिक जातिको नजिक रहेको जाति सम्भवतः ज्यापू हो । गोपालसिंह नेपाली (द नेवार्स अफ नेपाल, सन् १९५९) ले पनि काठमाडौंका मूलवासीका रूपमा अस्ट्रो–एसियाली जातिलाई नै मानेका छन् अर्थात् कोल, मुन्डाहरूलाई नै मानेका छन् । उनीहरूलाई किरातहरूले विस्थापित गरे । तर, उनीहरूले किरातीहरूमा जबरजस्त सांस्कृतिक प्रभाव भने छाडिराखे । गोपालसिंह नेपालीको विचारमा भैरव र भैरवी संस्कृतिसँग जोडिएका बलामीसँगै बस्ने दुनियाँथरका नेवारहरूको शारीरिक बनावट अरूभन्दा फरक देखिने भएकाले उनीहरू काठमाडौं उपत्यकाका पहिलो बासिन्दा कोल–मुन्डाका सन्तान हुन सक्छन् ।
काठमाडौं उपत्यकाको नाम नागह्रद, नागबास, कालिह्रद भनेर वंशावली, स्वयम्भू पुराण र नेपाल महात्म्यमा उल्लेख छ । नागपूजक जातिहरूको बसोबास भएका कारण काठमाडौं उपत्यकाको नाम यस्तो राखिएको हो । ती आदिम नागजातिहरू नागर्जुन, फुल्चोकी र शिवपुरी क्षेत्रका गुफामा बस्थे । उनीहरू सिकार गर्थे, माछा मार्थे, प्राकृतिक रूपमा कन्दमूलहरू संकलन गर्थे (निरिश नेपाल, रोलम्ब, अप्रिल–जुन, १९८२) । वंशावलीहरूले प्राकृतिक कन्दमूलहरू संकलन गरेर जीविकोपार्जन गर्ने नागजाति नै क्रमशः पशुपालन र अन्न उब्जाउने कृषिमा लागे भन्ने संकेत गरेको छ (निरिश नेपाल, रोलम्ब, अक्टोबर–डिसेम्बर १९८२) ।
दुई, कोलिग्राम । लिच्छविकालका प्रसिद्ध जातिहरूमध्ये एक थिए कोली । कपिलवस्तुको पूर्वपट्टि राज्य भएका यी कोलीहरूको बस्ती तत्कालीन कान्तिपुरमा लिच्छविकाल र त्यसभन्दा पछाडि पनि थियो । कोलीहरूको बस्ती भएको गाउँलाई कोलिग्राम र दक्षिण कोलिग्राम भनिन्थ्यो (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३०) । यो कोलिग्रामले निश्चय नै कोल जातिको स्मरण गराउँछ । र, काठमाडौंमा कोलहरूको बस्ती थियो भन्ने प्रमाण मान्न सकिन्छ ।
तीन, काठमाडौंमा गोरु नजोत्ने संस्कृति । काठमाडौं उपत्यकाका नेवारहरूमा गोरुले खेत जोत्नु हुँदैन भन्ने जुन विश्वास र प्रचलन छ, त्यो मुन्डा (कोल) जातिकै प्रभाव हो भन्ने विचार मानवशास्त्री फुरर–हाइमेन्डोर्फ
(कमलप्रकाश मल्ल, फ्रम लिटरेचर टु कल्चर) को रहेको छ । गोरुले नजोती धानखेती गर्ने कृषि प्रविधिको विकास गरेका मुन्डा (कोल) हरू नवपाषाणकालको अन्तिमतिर आसामबाट बसाइँ सरी काठमाडौं आइपुगेका थिए ।
चार, नेवारभित्रका सापु र मेपु । प्राचीनकालका ती गोपाल–महिषपालहरू अहिले पनि नेवार समाजमा छन् । नेवारभित्र अहिले हले (ग्वा) थर पाइन्छ । उनीहरू अहिले दुई थरमा बाँडिएका छन््– गाईपालक सापु र भैंसी पालक मेपु । टिस्टुङ, चित्लाङ, टौखेल क्षेत्रमा महेषीपीडा शब्द अंशुवर्माको अभिलेखमा फेला परेको छ, जसमा भैंसीपालनको संरक्षण गर्ने कुरा उल्लेख छ । यस्तै अभिलेख टौखेलमा पनि भेटिएको थियो (निरिश नेपाल, रोलम्ब, अप्रिल–जुन, १९८२) । टौखेल, न्हुलु, कुन्छा, पापुङ, पुलागाउँ, शिखरकोटजस्ता टिस्टुङ–टौखेल–चित्लाङ क्षेत्रमा नेवारभित्रका गोपाल थरका नेवारहरूको बस्ती छ अहिले पनि । अमरकोश (सन् ५५०–७५०) मा गाई पाल्नेहरूलाई अहिर भनिएकाले गोपाल भन्नु र अहिर भन्नु एउटै हो । त्यसैले निरिश नेपालको विचारमा गोपाललाई अहिर (आभिर) वंशले विस्थापित गर्‍यो भन्ने सही होइन ।
पाँच, नेवार समाजमा पाइने मातृसत्तात्मक संस्कृति । निरिश नेपालका विचारमा गोपालहरू सातजना महिलाहरूको नेतृत्वमा काठमाडौंका सात गाउँमा विभाजित भए– सतुङ्गल, भोसिगाउँ, मच्छेगाउँ, टौखेल, कीर्तिपुर, लोहोङ्कोट र नगम (पाँगा) । सम्भवतः यो सातगाउँ काठमाडौं उपत्यकाको पहिलो बस्ती हुनुपर्छ, जुन नवपाषाण युगको प्रारम्भमा गाई–भैंसीपालकहरू स्थिर रूपमा बस्न थालेपछि सुरु भएको हो । त्यसको स्मृतिमा यो सातगाउँ पर्व सुरु भएको हुन सक्छ । महिलाको नेतृत्वमा बस्ती बसेका कारण सात गाउँमा अजिमा (बजु) को पूजा हुन्थ्यो । तर, गाईबस्तुहरूको हेरचाह गर्ने पुरुषहरूको भूमिका महत्त्वपूर्ण हुँदै गएपछि उनीहरू कविला प्रमुख हुने परम्परा सुरु भयो र अजिमाको सट्टामा अजुद्यो (बाजे) हरूको पनि पूजा सुरु भयो (निरिश नेपाल, रोलम्ब, जनवरी–मार्च १९८३) । त्यसपछि काठमाडौं उपत्यकाको समाज मातृसत्तात्मकबाट पितृसत्तामा गयो ।
छ, गुरुङहरूको रोदी । कोल जाति र नेपालका भोटनजिक बस्ने किरातीको रक्तमिश्रण भएको ठाउँमा कोलहरूको सांस्कृतिक प्रभाव देखिन्छ (उत्तराखण्ड का इतिहास,
भाग २) । जस्तो कि नेपालको हिमाली क्षेत्रका भोटियाहरूमा रमबङ अथवा हम्बाघर बनाउने संस्कृति छ । रमबङ अथवा हम्बाघर भनेको गुरुङहरूको रोदीघरजस्तै हो । यसमा के हुन्छ भने गाउँका दस वर्षभन्दा माथिका युवायुवतीहरू कुमार–कुमारीगृहमा हरेक रात जम्मा हुन्छन् । रातभर नाचगान गर्छन्, मदिरा पिउँछन् र सुत्छन् (चार्ल्स ए. सेरिङ, वेस्टर्न तिब्बत एन्ड ब्रिटिस बोर्डरल्यान्ड, सन् १९०६≤ एसडी पन्त, द सोसल इकनमी अफ द हिमालयज्) । गुरुङहरूमा पनि ठ्याक्कै यस्तै तरिकाले रोदीघरमा नाचगान हुन्छ । यसको व्यवस्थापन र सञ्चालन युवतीहरूले गर्छन्, जसलाई रोदीबाई भनिन्छ ।
सात, कोल–किरात सृष्टिकथा । किरात र कोलहरूमा प्रचलित सृष्टिकथामा एउटा आधारभूत समानता भेटिन्छ । कोलहरूमा समुद्रबाट कछुवाले ढाडमा माटो बोकेर बाहिर ल्याएपछि पृथ्वी बनेको (वाल्टर जी. ग्रिफिथ्स, द कोल ट्राइब अफ सेन्ट्रल इन्डिया, सन् १९४६) सृष्टिकथा प्रचलित छ भने किरात राईहरूमा आदिम तलाउ बैकुवाबाट धमिराले माटो निकालेपछि पृथ्वी बनेको मुन्दुमी मिथक पाइन्छ । फरक धमिरा र कछुवामा मात्रै हो ।
आठ, किरात क्षेत्रमा पाइने चिहानका गहना । चिहानमा गरगहना राखिदिने चलन कोलहरूले विकास गरेको मानिन्छ (उत्तराखण्ड का इतिहास, भाग २) । पूर्वका किरातीहरूका बस्तीमा जिमाला, सिमाला भनिने गरगहनाहरू राखिएका चिहान प्रशस्त थिए । तर, ती गरगहना बेचबिखन हुने भएपछि चिहानहरू लगभग नामेट गरिए । आक्कलझुक्कल बचेका यस्ता चिहानहरू मात्रै होलान् । थप अध्ययन नगरी ठोकुवा गर्न त सकिँदैन, तर यी चिहानहरूले किरात र कोलहरूबीच अन्तरघुलन भएको सम्भावना भने देखाउँछ ।
नौ, धनुकाँड । धनुषवाणको आविष्कार कोल जातिले नै गरेको हो (एसके चटर्जी, वैदिक एज) । किरातीहरूमा पितृसंस्कारहरू गर्दा धनुकाँड अनिवार्य चाहिन्छ । ज्यापूहरूमा पनि यो संस्कृति प्रचलित छ । सायद यो पनि कोलहरूकै प्रभाव हुनुपर्छ ।
दस, कपडा बुनाइ र कपास । कपडा बुनाइको सुरुवात पनि अस्ट्रिक अथवा प्रोटो–अस्ट्रिकहरूकै आविष्कार मानिन्छ (एसके चटर्जी, वैदिक एज) । काठमाडौंका नेवार र किरातीलगायतमा अहिले पनि कपासको धागोबाट कपडा बुन्ने परम्परा कायमै छ ।
...
जर्ज ग्रियर्सन, सुनीतिकुमार चटर्जी र गोपालसिंह नेपाली (द नेवार्स अफ नेपाल, सन् १९५९) ले सिङ्गै भोट–बर्मेली भाषामा मुन्डा भाषाको प्रभाव रहेको मानेका छन् । कोल (मुन्डा) भाषाको यसप्रकारको प्रभाव नदीनाला र ठाउँका नाम, गणनासम्बन्धी शब्द र क्रियापदमा टड्कारोसँग देख्न सकिन्छ–
एक, ‘ती’ जोडिएका नदीका नाम । माइकल विजेल (‘नेपलिज हाइड्रोनोमी’, नेपाल पास्ट एन्ड प्रिजेन्ट, सन् १९९३) ले नदीका नामका पछाडि ‘ती’ आउनुलाई भोट–बर्मेली भाषाको प्रभाव मानेका छन् । तर, अलेक्जान्डर कनिङ्घमले नदीको नामको पछाडि ‘ती, ता, दा’ आउनु भनेको भोट–बर्मेली भाषाको विशेषता होइन, यो स्पष्ट रूपमा कोल (मुन्डा) भाषाको विशेषता हो भनी ठोकुवा गरेका छन् (अलेजेन्डर कनिङ्घम, आर्किओलजिकल सर्भे अफ इन्डिया, सन् २०००, भोल्युम १४) । यस क्रममा उनले पूर्वी र मध्यभारतमा बस्ने मुन्डा, सन्थाल, हो, कुरी र सौर (सवर) जस्ता कोल (मुन्डा) भाषा बोल्नेहरूको क्षेत्रमा पाइने नदीका नाम उल्लेख गरेका छन्– रावति (संस्कृतमा ऐरावति), न्युङ्ती, झाङ्ती, पारति, लुङ्ति, स्पिन्ति । फेरि ‘गुमो गाउँको पानी’ भन्नेजस्तो अर्थमा गुमोति भनिएझैं ठाउँका नामसँग पनि ‘ती’ प्रयोग भएको पाइन्छ– कसियाति, मत्रेति, सुपेति, चुति, अन्द्रेति, चागाँओति, चहिति, उरेति, हामल्ति, बुरहति, घैल्ति, मन्याओति, खन्याओति, वाल्ति, तिदोङ, नङ्गाल्ति, खति, सेल्ति, नरेति, क्योक्ति, लिङ्ति ।
‘ती’ जोडिएका नदीनालाका नामहरू नेपालमा पनि प्रशस्त छन् । कमलप्रकाश मल्ल (फ्रम लिरेचर टु कल्चर) ले काठमाडौं उपत्यकामा ‘ती’ लागेका यस्ता थुप्रै खोलानालाको नाम उल्लेख गरेका छन् । जस्तो कि विसं ५७३ मा लिच्छवि अभिलेखमा उल्लेख भएको फर्पिङको मणिमति । विसं ७०५ को बलम्बुको पुत्ति । त्यस्ता अन्य नामहरू हुन्– सातुन्ति (चाँगु), धेलन्ति (बनेपा) । त्यस्तै निति, जौति जस्ता खोलानालाका नाम पनि काठमाडौं उपत्यकामा छन् ।
अर्को कुरा, काठमाडौं उपत्यकामा पानीको धारा भएका ठाउँलाई हिटी भन्ने प्रचलन छ । जस्तो कि मरुहिटी, ठहिटी, यङ्गलहिटी । संस्कृति तथा इतिहास अध्येता सौभाग्य
प्रधानाङ्गका अनुसार, नेपालभाषा (नेवार) मा झोल अथवा तरल पदार्थलाई बुझाउन ‘टि’ शब्द प्रयोग हुन्छ । भन्नुको मतलब के भयो भने मरुहिटी भनेको ‘मरु टोलको पानी’ भयो, ठहिटी भनेको ‘ठ टोलको पानी’ भयो, यङ्गलहिटी भनेको
‘यङ्गल टोलको पानी’ भयो । यसरी कोल भाषाको पानी/नदीलाई बुझाउने शब्द काठमाडौं उपत्यकामा ‘टी’ का रूपमा जीवित छ । पनौती सहरको ‘ती’ पनि यही अर्थमा रहेको हुनुपर्छ ।
पश्चिम नेपालको मगराँत क्षेत्रमा पनि ‘ती’ जोडिएका नदीनालाका नामहरू छन्– मिग्रिस्ती, घलेती, रिस्ती, कलेस्ती, सुरौती, निस्ती, लस्ती । पूर्वी नेपालमा ‘ती’ जोडिएका नदीनालाका नामहरू हुन्– खिम्ती, पलती, लेती, मिल्ती, डोल्ती । त्यस्तै रोसी खोलासँग मिसिने सानो खोला छ माम्ती । सिबी नाछिरिङ राईले बताएअनुसार, सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा फुलवाती र बहवाती खोला छन् । प्राज्ञ अमर तुम्याहाङका अनुसार, लिम्बूहरूले ब्रह्मपुत्र नदीलाई मुन्धुममा उम्रोति–सुम्रोति भनेर सम्बोधन गर्छन् ।
दुई, ‘ता, दा, दी’ जोडिएका नदीका नाम । भारतका कोल (मुन्डा) भाषा बोलिने क्षेत्रमा नामका पछाडि ‘दी’ आउने नदीहरू छन्– पद्दा/पट्दा, बहुदा, नर्मदा, दामुदा, मनदा, वार्दा, सर्दा (पहेँलो नदी), केन्दा (कालो नदी), दासान, तिस्ता/टिस्टा, प्रणिता (आर्किओलजिकल सर्भे अफ इन्डिया) । कनिङ्घमले कोल (मुन्डा) भाषामा पानीलाई बुझाउन ‘दा’, ‘दिर’ र ‘दी’ शब्द पनि प्रयोग हुने बताएका छन् । यस्तरी ‘दी’ जोडिएका नदीनाला पश्चिम र पूर्वी नेपालमा पनि पाइन्छन् । जस्तो कि मगराँत क्षेत्रका म्यान्दी, मर्स्याङ्दी, ङादी इत्यादि । गण्डकीकै पुरानो नाम गण्डी हो । त्रिशुली नदीको प्राचीन नाम सिह्लुति, सिह्लुतिखु हो । त्यस्तै पूर्वी नेपालमा छ टिस्टा ।
अंशुवर्माको एउटा अभिलेखमा ‘महेषीपीडा’ शब्द फेला परेको छ, जसमा भैंसीपालनको संरक्षण गर्ने कुरा उल्लेख छ (निरिश नेपाल, रोलम्ब, अप्रिल–जुन, १९८२) । यो एक शब्दले धेरै भनिरहेझैं लाग्छ । यो ‘डा’ प्रत्यय भैंसीपालनसँग जोडिएर आएको छ र ‘दा’ कोल (मुन्डा) भाषासँग मिल्दो छ । यो एक शब्दले पनि महिषपालहरू भनेका कोल (मुन्डा) हरू हुन् भन्ने प्रस्ट संकेत गरेको छ ।
काठमाडौं उपत्यकामा पनि ‘दी’ लागेका नदीहरू छन्– बृन्नदी (नक्साल), मेकन्दी, हुदी (फ्रम लिटरेचर टु कल्चर) । सुनकोसी नदीमा मिसिने एउटा खोलाको नाम छ वादी । ‘ती, दी’ जोडिएका नदीनालाका नाम पूर्वी नेपालमा पनि छन् । जस्तो कि धरानमा सेउती खोला छ । जस्तो कि दूधकोसीमा मिसिने लुम्दिङ, लोदिङ, तास्दिङ≤ मोलुङ खोलामा मिसिने पोक्तिङ (नेपलिज हाइड्रोनोमी) । पूर्वी नेपालका नदीनालाका नाममा चाहिँ ‘ती’ र ‘दी’ का पछाडि ‘ङ’ जोडिएका छन् । भोट–बर्मेली भाषामा माछालाई ‘ङा’ भनिन्छ । सम्भवतः माछा पाइने खोलाका नामपछाडि ‘ङ’ जोडिएको हुनुपर्छ ।
पश्चिम नेपालका धेरै सुनिएका ठाउँका नामहरू म्याग्दी, बैतडी अथवा काठमाडौंका प्राचीन स्थाननाम किसिपिडीमा पनि ‘दी, डी’ नै जोडिएको छ । पश्चिम नेपालमै लमजुङ र माथिल्लो मर्स्याङ्दीमा खुदी गाउँ छ । त्यसरी नै जाजरकोटमा तिलकखुदी नामको गाउँ छ ।
तीन, गाड भनेको खोलानाला । ‘बाटामी गाड पडन्छ’, लगभग ३० वर्षअघि तारानाथ शर्माको निबन्ध ‘घनघस्याको उकालो’ मा पढेको यो एक वाक्य अहिले पनि स्मृतिमा ताजै छ । यो ‘गाड’ जो कोल (मुन्डा) भाषासँग सम्बन्धित छ । मुन्डा भाषाभित्र पर्ने सन्थाली भाषामा नदीनालालाई बुझाउन ‘गड, गन्ड र गन्डक’ शब्द प्रयोग हुन्छ । जस्तो कि होगड । यो शब्द जस्ताको तस्तै खसान क्षेत्रका खोलानालाका नामका पछाडि प्रयोग भइरहेको छ– सुलिगाड, तिलागाड, गिरिगाड, लोहरेगाड, निलगढगाड, ईश्वरीगाड, रुनिघाटगाड, सुरनयागाड, लोलिगाड, लमुनिगाड, घट्टेगाड । नदीका नाम संस्कृतकरण भएका छन्, तर ‘गाड’ यथावत छ । माइकल विजेलले यसलाई भोटबर्मेली भाषामा मुन्डा भाषाको प्रभाव मानेका छन् ।
चार, कुरी (गणना) । उत्तर भारतका किसानहरूले गन्ती (गणना) गर्दा सीधै पचास नभनेर ‘दुई कुरी र दश’ भन्ने गर्छन्, सिधै साठी नभनेर ‘तीन कुरी’ भन्छन् । उत्तर भारतमा गणनाका लागि प्रयोग हुने यो ‘कुरी’ शब्दलाई जर्ज ग्रियर्सनले मुन्डा भाषाको बताएका छन् । मेरै गाउँका बाजेबजूहरू अहिलेसम्म पनि ‘कति वर्ष पुग्नुभयो’ भनेर सोध्दा म ‘तीन कोरी र आधा’ (७० वर्ष) पुगेँ अथवा ‘चार कोरी’ (८० वर्ष) नाघिसकेँ भन्दै हुनुहुन्छ ।
पाँच, जोम (क्रियापद) । विस्तृत अध्ययन गरे धेरै खुलस्त होला । यहाँ भाषाशास्त्रीहरूले भनेको कोल (मुन्डा) र भोट–बर्मेली भाषाबीच निकटता छ भन्ने संकेतसम्म गर्न किरात राईभित्र पर्ने भाषाका ‘खानु’ क्रियासम्बन्धी केही शब्द प्रस्तुत गरिएको छ । कोल (मुन्डा) भाषामा खानेकुरा ‘खानु’ लाई ‘जोम’ भनिन्छ (एस.के. चटर्जी, वैदिक एज) । यो क्रियापदसँग किरात राई भाषाका क्रिया शब्द मिल्दोजुल्दो देखिन्छ– जाम/जाच्वाम (वाम्बुले राई), जोनु/जुनु (दुमी राई), ज्योन्या (खालिङ राई), चामा (चाम्लिङ, बान्तावा) इत्यादि ।
...
यति मन्थनबाट भन्न सकिन्छ– गोपाल–महिषपाल भनेका न कमलप्रकाश मल्लले भनेझैं भोट–बर्मेली भाषीका पुर्खा हुन्≤ न बाबुराम आचार्य, ज्ञानमणि नेपाल, कुलचन्द्र कोइराला र मोदनाथ प्रश्रितहरूले भनेझैं खस–आर्यका पुर्खा । बरु डीआर रेग्मी र गोपालसिंह नेपालीले भनेझैं नेपाल र भारतका सर्वप्राचीन अस्ट्रोल जाति हुन् । अहिले स्वतन्त्र अस्तित्व कायम रहन नसके पनि उनीहरूको भाषिक–सांस्कृतिक प्रभाव भने जीवित छ । जुन विरासत इतिहासकार डा. जगदीशचन्द्र रेग्मी (प्राचीन नेपालको राजनीतिक इतिहास, २०५३) ले प्रयोग गरेको ‘पश्चिमका किरात’, ‘पूर्वका किरात’ पदावली सापट लिएर भन्ने हो भने पश्चिमका किरात (मगर, गुरुङलगायत), पूर्वका किरात (राई, लिम्बू, याक्खा, सुनुवार, थामी, हायु, जिरेल, सुरेल) र माझका किरात (नेवार, तामाङ, चेपाङ इत्यादि) हरूले थामिरहेका छन् ।

Page 12
कोसेली

खाँटी कथावाचक

- डा. तीर्थबहादुर श्रेष्ठ

 

आउँदो वर्षको नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएका व्यक्तिमध्ये बेलायतका प्रकृतिविद् सर डेभिड एटेन्वरोको चर्चा अहिले चुलिँदो छ । पृथ्वीको जीवन्त स्वरूपलाई बुझ्ने, बुझाउने तथा तिनको संरक्षणबाट मानवलगायत सकल जीव–प्राणी, वन–वनस्पतिको शान्तिपूर्ण भविष्य सुरक्षित राख्ने काममा अतुलनीय योगदान पुर्‍याएकाले उनको नाम सिफारिस भएको हो ।
बेलायतको आइल्सवर्थमा सन् १९२७, मे– ८ मा जन्मिएका डेभिड एटेन्वरो अहिले ९६ वर्षका भए । यो उमेरमा पनि सशक्त रूपमा सक्रिय उद्घोषक र सटीक टिप्पणीकारका रूपमा उनी पृथ्वीको प्राकृत सौन्दर्य, जैविक विविधताको रहस्य र त्यसभित्रका मानवकर्म–दुष्कर्मका पाटोलाई श्रव्य–दृश्यका माध्यममा हामीसामु पस्कँदै छन् । ४३ वर्ष पहिले सन् १९७९ मा उनले प्रारम्भ गरेको वन्यजन्तु विशेष शृंखलालाई बेलायतबाट बीबीसीले लगातार २६ वर्ष प्रसारण गरेको थियो । त्यस शृंखला २५३ अंकसम्म प्रसारण भएको थियो । र, त्यसलाई सुन्न–हेर्न आतुर जनसंख्या एक करोड थियो भन्ने अनुमान छ । यसैगरी ‘प्राकृत संसार’ (नेचर वर्ल्ड) शीर्षकमा ‘संरक्षण गरिनुपर्छ’ भनेर बाघ, हात्ती, गैंडा, गोही आदि दुर्लभ वन्यजन्तबारे ५० वटा टेलिशृंखला निर्माण भएका थिए । यी अथक अन्वेषकको नवीन कृति ‘डानास्टिज’ भाग–२ केही समयपछि नै सार्वजनकि हुने भएको छ । त्यस फिल्मका चार शृंखलामा हात्ती, चिता, पुमा तथा हुँडारका कथा–व्यथा समेटिनेछन् । सन् २०१८ मा प्रसारित ‘डानास्टिज’ भाग– १ ले चिम्पान्जी (वनमान्छे), इम्परर पेन्गुइन (चरा), सिंह, बाघ तथा अफ्रिकी वनकुकुरको जीवनचर्या उजागर गरेको थियो ।
डेभिड एटेन्वरोले ७० वर्ष पहिले नै
प्रकृति–पत्रकारिता प्रारम्भ गरेका थिए । त्यस बेलादेखि अहिलेसम्म उनले यस पृथ्वीको जीवन्त पक्षलाई लिएर सयभन्दा अधिक श्रव्य–दृश्यका सामग्री तथा त्यस सम्बन्धी पुस्तकहरू लेखिसकेका छन् । पछिल्लो समय ‘हाम्रो ग्रहमा एउटा जीवन’
(अ लाइफ अन आवर प्लानेट) शीर्षकमा श्रव्य–दृश्य एवं पुस्तक लेखेका छन् । त्यसमा उनले आफ्नै रोजाइ र भोगाइका विषय उठाएका छन् । यस ग्रहमा आफूले देखेको, हेरेको र भोगेको समयको साक्षी बनेर उनले आफ्नै बयान सार्वजनिक गरेका छन् ।
मानवीय कारणले यस पृथ्वीको प्राणीजगत्मा सम्पूर्ण जीवसंख्या सन् १९५० देखि आजसम्म प्रतिपल घट्दै गएर आधाभन्दा कमको संख्यामा झरेको छ । पन्छी जगत्को सम्पूर्ण पिण्डको हिसाब गर्दा ७० प्रतिशत पिण्डभार पाल्तु पन्छीले ओगट्छ । र, त्यसको अधिकांश भार पाल्तु कुखुरा–कुखुरीले ओगट्छ । यस प्रकारले प्राकृत बासस्थानमा बस्ने पशु–पन्छीको ह्रास हुनुमा हामी नै जिम्मेवार छौं । पृथ्वीका सम्पूर्ण स्तनधारी प्राणीको पिण्ड राशिमा हामी मानव जातिले एक तिहाइ भाग ओगट्न थालेका छौं । हाम्रो पिण्ड राशिलाई मुसादेखि हात्ती र ह्वेलले पनि उछिन्न सक्दैन । प्राकृत रूपमा रहेका स्तनधारी प्राणीको पिण्ड सबै जोड्दा ४ प्रतिशत मात्रै पुग्छ । अधिक स्तनधारी प्राणीको पिण्ड–अंश पाल्तु जन्तुले ओगट्ने गरेको छ । किनभने मांसाहारी मानिसहरू पृथ्वीमा धेरै छन् । अहिले विश्वको जनसंख्या आठ अर्ब पुग्न लाग्यो । डेभिड एटेन्वरोको बाल्यावस्थामा सन् १९३७ तिर विश्वको जनसंख्या मात्रै दुई अर्ब तीस करोड थियो ।
पृथ्वीको वातावरण सन्तुलित राख्ने वन र वृक्षलाई मानिस जातिले सखाप पार्दै छन् । प्रत्येक वर्ष १५ अर्ब वृक्ष नष्ट हुने गरेको छ । हाम्रो वेदले उच्चारण गर्ने ‘वनसपतय शान्ति’ भन्ने मन्त्र विपरीत विश्व परिचालित छ । यस्तै–यस्तै विश्लेषणहरूमाझ उभिएर डेभिड एटेन्वरो जलवायु परिवर्तनका घटना, दुर्घटना, कोप र प्रकोपलाई हाम्रो दृष्टिपटलमा चित्रण गराउन सफल भएका छन् । विगत वर्षको २६सौं विश्व जलवायु सम्मेलनमा एउटा सकारात्मक सोच लिएर उभिए उनी । उनले भने, ‘यस पृथ्वीका विभिन्न भूगोलका विभिन्न मानिसहरूका आ–आफ्नै पृथक् क्रियाकलापबाट आजको भयावह अवस्था सिर्जना भयो । पृथक् क्रियाकलापबाट उत्पन्न साझा समस्या हो – जलवायु परिवर्तन । पृथक् क्रियाकलापको साझा समस्यालाई अब संयुक्त प्रयासको आवश्यकता छ । सबै मिलेर सहकार्यमा लाग्यौं भने जलवायु परिवर्तनको साझा समस्या हल गर्न सकिन्छ ।’ उनको पुस्ताको जनसंख्याले पुर्‍याएको क्षतिलाई नयाँ पिँढीले चमत्कारी ढंगले पुनर्निर्माण गर्नेछ भन्ने एटेन्वरोको विश्वास थियो । किनभने हजारौं हजार जीवप्राणी र जीवात्माको अध्ययनबाट उनमा एउटा विश्वास पलाएको छ । समस्या समाधानमा मानिसलाई भेट्ने अरू प्राणी यस पृथ्वीमा छैन । त्यसैगरी भोलि के होला, के गर्ने भन्ने भविष्यको चिन्तन गर्ने शक्तिमा पनि मानिसलाई अरुले भेट्दैन । तसर्थ उनका आशावादी चिन्तनहरू निकै मननीय छन् ।
एटेन्वरोको सर्वाधिक लोकप्रिय डकुमेन्ट्री फिल्ममध्ये ‘प्लानेट अर्थ’ अर्थात् ‘पृथ्वीस्वरूप यो ग्रह’ सन् २००६ मा प्रदर्शन भएपछि यो पृथ्वी कति सुन्दर छ, शान्त छ र विशाल छ भन्ने बुझ्न सजिलो भयो । त्यसको दस वर्षपछिको दोस्रो संस्करणले अत्याधुनिक उपकरण प्रयोगले पृथ्वीलाई हामीले हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउन सफल भयो । तर, पृथ्वीको दुईतिहाइ अंश ओगट्ने सागर र समुद्रको संसारबारे हामी अनविज्ञ रह्यौं । तसर्थ सन् २००१ मा ‘नीलो ग्रह’ (द ब्लु प्लानेट) प्रकाशन भएदेखि समुद्रको परिवेश र त्यहाँका जीव–प्राणी, वनस्पतिबारे आम जनता अनविज्ञ रहनु परेन । त्यसको दोस्रो संस्करणले सन् २०१७ मा नौलो तहल्का नै मच्चायो । तिनलाई टेवा पुर्‍याउने ‘फ्रोजन प्लानेट’ अर्थात् जमेको ग्रह (हिमखण्डको पृथ्वी) ले हिमाच्छादित संसारको जीवन्त पक्ष उजागर गर्‍यो । यो ग्रहलाई प्रत्यक्ष आँखाअगाडि प्रस्तुत गर्ने उपरोक्त तीन शीर्षकका पाँचवटा डकुमेन्ट्री फिल्म हेरेपछि पृथ्वीको जीवन्त स्वरूपभित्रका रहस्यहरू हामी सजिलै बुझ्न थाल्छौं ।

एटेन्वरो र नेपाल
एटेन्वरोको चिरपरिचित स्वरमा नेपाल र नेपालीको वर्णन हामी ‘द ल्यान्ड अफ गोर्खाज्’ अर्थात् ‘गोर्खालीहरूको भूमि’ नामक डकुमेन्ट्री फिल्ममा सुन्न पाउँछौं । ६५ वर्ष पहिले सन् १९५७ मा क्रिस्टोफर भोन फुरेर हाइमेन्डोर्फद्वारा छायांकन गरिएको उक्त श्याम–श्वेत फिल्मले त्यसबेलाको नेपाल कस्तो थियो भन्ने छर्लंगै देखाउँछ । त्यस फिल्मको ऐतिहासिक महत्त्व वर्तमान पिँढीले बुझ्नु अति जरुरी पनि छ । बेलायतको स्कुल अफ अफ्रिकन एन्ड ओरियन्टल स्टडिजका प्राध्यापक हाइमेन्डोर्फ मानवशास्त्री थिए । गोर्खाली सैनिकको प्रख्यातिबाट आकृष्ट भएर तिनका मातृभूमिमा मानव बसोबास र जीवनचर्याको अनुसन्धानमूलक छायांकन गर्न उनी नेपाल आएका थिए । गोरखा जिल्लाबाट काठमाडौं उपत्यका र त्यहाँबाट पूर्व लागेर विभिन्न तामाङ बस्ती, शेर्पा बस्ती, राई बस्ती र लिम्बू बस्ती चहार्दै दार्जिलिङमा यात्रा विसर्जन गरेका थिए । आजभन्दा ६०/६५ वर्ष पहिलेको नेपाल दर्शन वर्तमान पिँढीका लागि निश्चय नै रोमाञ्चकारी हुनेछ ।
सडकबिनाको नेपाल, सबै बाटोघाटो पैदल तय गर्नुपर्ने, सबै प्रकारका ढुवानीहरू थाप्लो र नाम्लो अथवा गधा–खच्चर, याक–चौंरी–झोप्कियो वा भेडा–च्यांग्राका पिठ्यूँमा लादिने दिन थिए ती । काठका अस्थायी पुल र फड्के, बेत र बाँसका झोलुंगे पुलहरूद्वारा नदी–नाला तर्नुपर्ने अवस्था थियो । कहालीलाग्दो उकाली–ओरालीमा नाङ्गो खुट्टाले हिँडिरहेका भरियाहरूको दृश्यले आजका युवायुवतीका छातीमा पीडाका डोबहरू बस्नेछन् ।
काँधमा बन्दुक र कम्मरमा खुकुरी भिरेका गोर्खाली सैनिकको चित्र मानसपटलमा बोकेर नेपाल आएका बेलायती यात्री यहाँका गोर्खाली वा नेपाली काँधमा बन्दुक होइन हलो र कोदाली देख्छन् र कम्मरमा मादल । शत्रुको शिर छिनाल्ने खुकुरीहरू रूखका डाले घाँस काट्न व्यस्त हुन्छन् । ढिकी–जाँतो, चुलो–चौका र चर्खामा व्यस्त महिलाहरू चाडपर्वमा चाँदीका कम्पनी माला र मखमली चोलो तथा सुनका तिलहरीमा नाच्छन् र गाउँछन् गोर्खाली भूमिमा ।
काष्ठकलाले सिँगारिएको गोर्खा दरबार, झिँगटी छानामा सजिएका पगौडा मन्दिरहरू, कहीँ स्लेट ढुंगा त कहीँ खर–परालले छाएका एक वा दुईतले घरहरू, सेतो कमेरो र रातो माटो पोतिएका घरलाई सुहाउँदो गरी झुन्ड्याइएका मकैका घोंगाहरू, झ्याल–बार्दलीमा सुकाउन राखेका ठूलाठूला फर्सी र काँक्राहरू अनि आँखा नअघाउन्जेल देखिने खेतबारीका कान्लाहरू त्यस फिल्ममा देख्न सक्छौं । गोरखापछि काठमाडौंको सन्दर्भमा नेवारी कलाकौशलको सौन्दर्य यहाँका मठ, मन्दिर, घर–भवनहरूमा साकार हुन्छ । नेवारी परम्परागत जात्रा, चाडपर्वका उत्सवमा जम्मा हुने मानिसका भीड, तिनका बीचमा देवी–देवताका रथ र खटहरूका जात्रा उत्साहपूर्ण देखिन्छ त्यस फिल्ममा । त्यस बेलाको जनसागरमा टोपी नलगाउने टाउको र जुत्ता लगाउने खुट्टा प्रायः देखिँदैनथ्यो । स्वयम्भू चैत्यको सेरोफेरोमा बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीहरूको सामन्जस्यको उल्लेखनीय पक्षलाई फिल्मले राम्रै समेटेको छ । त्यस बेलाको नाम्चे बजार र शेर्पा संस्कृति तथा प्राकृतिक सम्पदाको छेलोखेलो फिल्ममा देखेर हामी मुग्ध हुन्छौं ।
अरुण उपत्यकाको राई संस्कृति र अरुणपारिको लिम्बुवानको चित्रण गर्दै हाइमेन्डोर्फ तथा उनकी श्रीमती उत्तरी भेगका कारभोटे समुदायमा पुग्छन् । अरुण नदी तर्ने फ्याकसिन्धेको पुलको कहालीलाग्दो यात्रा निकै रोचक देखिन्छ । बेत–बाँस र निगालोले त्यति लामो पुल बन्न कसरी सम्भव हुन्छ ? मननयोग्य विषय पनि बन्ने गरेको छ । एउटा घट्टको जाँतोमा धुपीको खाँवो जोतेर त्यसबाट धुपीको लेप बनाउने र त्यसलाई डल्लो पारेर तिब्बततिर निर्यात गर्ने प्रचलन पनि फिल्ममा देखाइएको छ । सन् १९७२ ताका अर्थात् लगभग १४/१५ वर्षपछि वनस्पति सर्वेक्षणको सिलसिलामा त्यहाँ पुग्दा सो घट्ट बन्द अवस्थामा थियो । धुपीको व्यापार थिएन । तिब्बत बदलिइसकेको थियो । हाम्रा मेटिएका इतिहासका पानाहरू यस्तै चलचित्रका छायांकनमा खोज्नु र तिनका संरक्षण गर्नु आजको आवश्यकता पनि हो ।
एटेन्वरोका आफ्नै डकुमेन्ट्रीहरूको सँगालोभित्र हिमालय र नेपालको प्राकृतिक स्वरूप र सम्पदाका थुप्रै सामग्री भेटिन्छन् । तीमध्ये ‘प्लानेट अर्थ’ अन्तर्गतको ‘हिमालय एन्ड द मनसुन’ तथा नेचर वर्ल्डअन्तर्गतको ‘द हिमालयज’ मा हिमालयको उत्पत्ति, मनसुनको जन्म, पर्वतीय वातावरणको कठोर जीवनगाथा, प्रकृति र मानवबीचको आपसी समन्वयमाथिका वैज्ञानिक चेतनालाई सरल–सरस शैलीमा प्रस्तुत गरिएका छन् ।
चन्द्रमाको सतहबाट हेर्दा नीलो स्फटिकजस्तो डल्लो पृथ्वी अँध्यारो आकाशमा उदाएको देखिन्छ । त्यसको धरातलमा ४० करोड वर्ष पहिलेको एउटा घटना उजागर हुन्छ । धर्तीका दुई विशाल भूखण्डहरू एसियाको माझमा भेटिन्छन् । आपसी रगडारगड र ठेलमठेलमा धर्ती आकाशतिर उठ्न थाल्छ । उठ्दा–उठ्दा त्यसले ५ माइलको उचाइ हासिल गर्दै हिमालय पर्वतको स्वरूप धारण गर्छ । उता समुद्रतिर पनि प्रकृतिको क्रीडा प्रारम्भ हुन्छ । समुद्र सतहको आकाशमा जलवास्पले लादिएको वायु मध्यएसियाको तात्दो भूखण्डतिर सोहोरिएर कुद्न थाल्छ । हिमालयको विशाल पर्खालले तिनको बाटो छेक्छ र पानी थाप्छ । हिमालयको दक्षिणी भूखण्डमा घनघोर वर्षा हुन्छ, तर उत्तरी भेकमा सुक्खा नै कायम हुन्छ । यस पृष्ठभूमिमा हिमालय र नेपालको श्रव्य–दृश्य एटेन्वरोका सिर्जनामा समेटिन पुग्छ । तीमध्ये मेरा स्मृतिपटलमा बारम्बार झुल्किने दृश्यहरू थोरै उल्लेख गर्ने जमर्कोमा छु ।
पाकिस्तानको कारकोरम क्षेत्रमा प्रचुर पाइने मारखोर भेडाका भाले जुधाइको दृश्य ! सोही ठाउँमा आफ्नो सिकार खोज्दै पुगेका एक हिमचितुवाको आक्रमणबाट बच्दै ठाडै ओरालो लागेर पत्थर पनि स्थिर नटिक्ने भीरको बाटामा एक पाइला पनि नबिराई कुदेर नदीमा हाम फाल्ने मारखोर भेडा ! त्यसलाई एक छिन नछोडि लखेट्ने हिमचितुवाको छायांकन कसरी सम्भव भयो ? त्यो बुझिसक्नु छैन । यस्तै सिकारको खोजमा निस्केको ब्वाँसोको प्रसंगमा एटेन्वरो भन्छन्, ‘हामीले पाल्ने घर कुकुरहरूको वंश यिनै हिमाली ब्वाँसोसँग जोडिन पुग्छ ।’
पाकिस्तानबाट भारत हुँदै नेपालको प्रसंगमा आइपुग्दा माछापुच्छ्रे् ेर अन्नपूर्ण हिमालका काखमा वसन्त फुलेको, लालीगुराँस फक्रेको, डाँफेचरी नाचेको, कस्तूरी मृगले बुर्कुसी मारेको तथा तराई क्षेत्रमा सारसका प्रणयनृत्यहरू हामी देख्न सक्छौं । हिमाली आकाशमा कर्‍याङकुरुङका बथानले मौसमी यात्रामा उड्दै गर्दा तिनलाई तितरबितर पार्दै सिकारमा उडेका शाहीबाजका क्रियाकलाप निकै रोमाञ्चित ढंगले प्रस्तुत गरिएको छ । त्यस बेला शाहीबाजले हानेको वेग प्रतिघण्टा ३०० किलोमिटरको कीर्तिमान स्थापना गर्छ । विश्वका कुनै पनि जलचर, स्थलचर वा नभचर प्राणीले यो गतिलाई उछिन्न सक्दैन । यसैगरी हिमालयको ८,००० मिटरभन्दा माथिको उचाइमा उडान भरेर बसाइँ सराइ गर्ने खोयाहाँस (बार हेडेड गुज) को अर्को कीर्तिमानी छायांकन पनि प्रविधिका हिसाबले उत्कृष्ट उदाहरण ठहरिन पुग्छ । सगरमाथाको सेरोफेरोमा लगभग ६,७०० मिटरको उचाइमा एउटा कीर्तिमानी माकुरोको कथा जोड्न पनि एटेन्वरो चुक्दैनन् । पर्वतारोहीहरूको कठिन यात्राको विसर्जनमा नेपाली झन्डा फरफराएको दृश्य पनि उत्कृष्ट देखिन्छ ।
हिमालपारिको तिब्बती क्षेत्रका वन्यजन्तुहरूको प्रस्तुति पनि रोचक र रोमाञ्चकारी देखिन्छ । फ्याउ मुसा (पिका) को दुलो भत्काउँदै सिकार खोजी हिँड्ने खैरो भालु (ब्राउन बियर) र तिनलाई पछ्याउँदै सिकार आफ्नो हातमा पार्ने ब्वाँसोको चतुर्‍याइँ पनि अचम्मलाग्दो छ । ४,००० मिटरको उचाइमा चिरु हरिणहरू घाम ताप्न बस्दा तिनका नाकको फोहराबाट निस्कने बाफको मुस्लोले क्यामराम्यानको निपुणता जाहेर गर्छ ।
विश्वमा हिमालयलाई देवात्मा भूमिको मान्यता प्राप्त छ । कैलाशजस्तो पवित्र पर्वत, गंगा र ब्रह्मपुत्रजस्ता पवित्र नदीहरूप्रतिको जनआस्था, धार्मिक एवं सांस्कृतिक विशेषता तथा तिनका सामाजिक, आर्थिक एवं वातावरणीय महत्त्वलाई पनि उनका डकुमेन्ट्रीले समेटेको छ । हिमालय त्यहाँ नभइदिएको भए दक्षिण एसिया विशाल मरुभूमि बन्ने थियो भन्ने सटीक धारणा पनि हामी सुन्न पाउँछौं ।
सबै प्रकारका जीवप्राणी र वनस्पतिको संरक्षणमा विशेष चासो राख्ने डेभिड एटेन्वरो बौद्ध दर्शनबाट अति प्रभावित देखिन्छन् । उनलाई के बोध भयो भने यहाँका मानिसहरूमा एउटा बेग्लै चेतना छ, जसले सबै जीवात्माको जीवनचर्या एकअर्कासँग गाँसिएको ‘माकुरी जालो’ जस्तो छ । त्योभन्दा पनि नौलो सोचको धार्मिक आस्था उनले अनुभव गरे । त्यो भनेको प्राणीले जुनी फेर्दै जाने र एक दिन हामी पनि अरू जीवात्माको जुनीमा पुग्नेछौं भन्ने विश्वास । यस धारणाले अरू प्राणीप्रतिको करुणाभाव जीवन्त राख्छ भन्ने विश्वास जगाउँछ । यस हिमालयको पर्वतीय परिवेशमा केही बौद्ध धर्मावलम्बीहरू पर्वत र प्रकृतिलाई चढाउन ‘आकाशीय दाह संस्कार’का लागि मानिसका लास लैजाने गर्छन् । त्यसको केही झलक छायांकन पनि गरिएको छ । हिमाली जनजीवनको त्यो विशेषता विश्वका लागि कुतूहलको विषय पनि हो ।
सर डेभिड एटेन्वरोले हिमालय र नेपाललाई आफ्ना थुप्रै सिर्जनाहरूमा समावेश गरेका छन् । त्यसका अतिरिक्त ‘द ल्यान्ड अफ गोर्खाज’ मा झैं आफ्नो स्वर र सरस टिप्पणीहरू अरूलाई पनि प्रदान गर्ने गरेका छन् । हालै मात्र सन् २०२२ को विट्ले पुरस्कारका लागि रेड पान्डा संरक्षणमा पुर्‍याइआएको योगदानलाई लिएर तयार पारिएको छोटो डकुमेन्ट्रीमा एटेन्वरोका स्वर र शब्दहरू सुन्न पाइन्छ । वन्यजन्तु संरक्षणमा सामुदायिक संरक्षण प्रयासको उत्कृष्ट नमुना त्यहाँ प्रस्तुत गरिएको छ ।
यस पृथ्वीको जल, स्थल, वायु–आकाश एवं हिमखण्डसमेत चहारेर विशेष अनुभवका आधारमा डेभिड एटेन्वरो वर्तमान विश्वको वातावरणीय समस्यालाई सम्बोधन गर्न निम्न ६ बुँदालाई अघि सार्ने गर्छन् ः
१) ह्रासोन्मुख जैविक विविधताको पुनःस्थापना ।
२) पृथ्वीको जनभार घटाउन जनसंख्या वृद्धिको नियन्त्रण ।
३) पुनः नवीकरण हुने प्राकृतिक स्रोतसाधन (सौर्य शक्ति, जलविद्युत्, हावा–बतासको शक्ति, सामुद्रिक ज्वारभाटा आदि) को उपयोग ।
४) जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई न्यून राख्ने उपायहरूको खोजी ।
५) मांसाहारी प्रवृत्तिलाई घटाउने उपायको खोजी ।
६) प्राकृतिक स्वरूप र जैविक विविधता संरक्षण क्षेत्रको विस्तार ।
वातावरण दिवसलाई साकार बनाउन हामीले उपरोक्त विषयमा ध्यान दिएर प्रकृतिको स्याहार, सुसार र संरक्षण गर्न सक्यौं भने हाम्रो आफ्नै रक्षा हुन्छ । र, हामी सुरक्षित रहन्छौं । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘एउटै पृथ्वी’ (वन्ली वन अर्थ) ले त्यही सन्देश प्रवाह गर्छ ।

 

 



पोहोरसम्मको विशाल ताल
ॅगंगापूर्ण’ अहिले मैदान
बनेको छ


देवेन्द्र भट्टराई


गत वर्ष जेठ–असारमा आएको भीषण वर्षा र पहिरोले मर्स्याङ्दी नदी ३१ ठाउँमा थुनिएको थियो । पर्यटन व्यवसायको भरमा चलेको जिल्लाका धेरै चल्तीका होटल बगे, विद्यालय बगे र घरपरिवारकै उठीबास चल्यो । त्यही विपत्तीमाझ सबैले भन्ने गरेको जलवायु परिवर्तनको प्रवाहमा थिचिएको र धेरैले ख्याल नगरेको प्रकृतिको अर्को कुनो थियो— गंगापूर्ण ताल । हिमालपारिको जिल्ला मनाङ टेकेपछि सदरमुकाम चामे हुँदै कोतो, पिसाङ, हुम्दे, भ्राका, खाङ्सार, सिद्धिखर्कसम्म जान चाहने धेरैजसो यात्रुको रोजाइमा हुन्छ— गंगापूर्ण ताल, भ्राका गुम्बा वा मिलारेपा गुफा । तर, पछिल्ला वर्षहरूमा कोभिड महामारीको चपेटामाझ गुज्रिएको नेपाली बजारको चेपुवामा मनाङ पनि पर्‍यो, जसको भरथेग सधैंसधैं पर्यटक र पर्यटन हुने गर्थ्यो ।
यसअघि झन्डै ३ दशक आफ्नो थातथलोबाट बाहिरिएका कालु घले (५८) अहिले आफ्नै गाउँ भ्राका फर्किएका छन् । कहींकतै नपाइने प्राकृतिक सौन्दर्यबाट लोभिएर उनले भ्राकामा होटल निर्माण थालेका छन् । खाङसारकै छिरिङ दोर्जे (६०) पनि आफ्नै थातथलोमा सुविधापूर्ण नोर्बुलिङ होटल सञ्चालनको मुखैमा छन् । विशेषतः तिलिचो भ्रमणमा निस्केका पर्यटकका निम्ति तिलिचो बेस पुग्नुअघिको आरामयुक्त बसाइ प्रबन्धको लोभमा दोर्जे तानिएका हुन् ।
‘वर्षको ३ महिना हिउँले छोपिन्छ, अर्को ३ महिना बाढीबर्खाले कठिनाइ थप्छ । वर्षको ६ महिनासम्म चल्ने व्यवसाय वा कृषिखेतीका भरमा मनाङ चलेको छ,’ ३० वर्ष हङकङ बसेर घर फिरेका कालु भन्छन्, ‘तैपनि थोरै प्रचार र अलिकति सरकारी भरथेग भैदियो भने मनाङ फेरि उठ्न सक्छ भनेर यहाँ लगानी गरेको हुँ, आफ्नै पुरानो थातथलोमा फर्की आएको हुँ ।’ पर्यटनकर्मी स्वर्गीय आङछिरिङ शेर्पाकै सपनामा अर्का उद्यमी सरोज प्रधानसहित मिलेर कालुले सुरु गरेको भ्राका रिजोर्टमा १० करोड रुपैयाँ लगानी भइसकेको छ, सम्भवतः एक वर्षभित्रमा यो रिजोर्ट सञ्चालनमा आउनेछ ।
कालुको बुझाइमा, मनाङ–मुस्ताङजस्तो थलोका निम्ति सरकारले राख्ने थोरतिनो सदाशयता र सहयोगको मात्रै पनि धेरै अर्थ रहन्छ । उनले आँखैसामु देखेको दृष्टान्तमा विसं २०२० को आसपासमा राजा महेन्द्र भ्राका घुम्न आएका बेला स्थानीयवासीको आवश्यकता र मागमा मनाङी सर्वसाधारणले सुविधामा राहदानी पाउन थालेपछि हिमालपारिको यो जिल्लाले संसार देखेको हो । बन्द–व्यापारमा मनाङीहरू सिंगापुर, मलेसिया, हङकङ निस्कन थालेपछि जिल्लामा उद्यमीहरूको चहलपहल बढेको हो, दह्रो आर्थिक जग बस्न थालेको हो ।
चामे नजिकै भ्राताङमा एग्रो मनाङ योजनाले झन्डै ७ सय रोपनी क्षेत्रफलमा थालेको स्याउ खेती र सुविधायुक्त बसोबासको आकर्षण पनि मनाङभर चर्चाको विषय बनिसकेको छ । ‘प्रकृति र पर्यटनको सम्भावना देखेरै ७ वर्षअघि एग्रो–मनाङको योजना थालेका हौं,’ एग्रो मनाङका अध्यक्ष समराज गुरुङ भन्छन्, ‘सुरुमा थालिएको स्याउ खेती अहिले होटल हुँदै विभिन्न अर्गानिक उत्पादनको केन्द्र बनिसकेको छ । यसमा लगानी मात्रै २३ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।’
प्रकृति र पर्यटनलाई जोडेर केही फरक काम गर्न सकेमा परिणाम पनि राम्रै आउन सक्ने कुरामा समराज ढुक्क थिए । ‘अहिले पर्यटनमा अफ–सिजन सुरु भैसक्यो, तैपनि एग्रो–मनाङको अवस्थिति, सेवा र उत्पादनको विविधताका कारण अहिले पनि पर्यटकहरू आइरहेकै छन् । आउने दिनमा सबै याम र समयमा पर्यटनको सेवामुखी केन्द्रका रूपमा एग्रो मनाङलाई चिनाउने प्रयत्नमा रहनेछौं ।’
आशा ॅगंगापूर्ण’
थोराङपास उक्लनुअघि वा तिलिचो जानुअघिको उपल्लो मनाङमै धेरै आकर्षण लुकेका छन्– मिथदेखि किवंदन्तीसम्म । १ हजार वर्षअघि (११ औं शताब्दीताका) तिब्बती धर्मगुरु मिलारेपा आएर ध्यानमा बसेका थिए भन्ने जनविश्वासले भ्राकामाथिको पहाडमा मिलारेपा गुफालाई प्रख्यात बनाएको छ भने ६ सय वर्षअघि बनेको भ्राका गुम्बामा अझै पनि सयौं वर्ष पुराना हस्तलिखित बौद्ध मन्त्र र ग्रन्थलाई काठको जिल्दाले बेरेर राखेको हेर्न सकिन्छ । मुस्किलले चार्टर्ड वा कार्गो फ्लाइट मात्रै देखिने हुम्डे विमानस्थल आफैंमा पर्यटकीय गन्तव्यझैं बनेको छ भने केही वर्षअघिसम्म आँखैसामु देखिने ग्लेसियर वा हिमनदीहरू भने तस्बिरमा हेर्ने आकर्षण बनेका छन् ।
माथिल्लो मनाङको भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बहेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झँदै बसिरहेका भेटिए । ‘अरूभन्दा पनि ३८ सय २० मिटर उचाइको विन्दुमा रहेको गंगापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने थियो, अहिले भने यो ताल पनि मैदानझैं बनिसकेको स्थिति छ,’ घले भन्छन्, ‘स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गंगापूर्ण तालको तस्बिर लिएर प्रचारमा आएपछि यो ताललाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ ।’
झन्डै ९ किलोमिटर लामो गंगापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ । रिसर्च समूहका एक अनुसन्धानकर्ता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गंगापूर्णजस्ता तालहरूको अस्तित्व लोप हुन सक्ने सम्भावना बढेको छ । अन्वेषकका बुझाइमा, यो त्रासद स्थिति उब्जिए पनि मनाङ ङिस्याङ गाउँपालिका भने गंगापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ । ‘अहिले अस्तित्वै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले ३ करोड ५ लाख रुपैयाँ बजेट छुट्याएको छ,’ गंगापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका, वार्ड ६ का अध्यक्ष सोनाम गुरुङ भन्छन्, ‘टेन्डर पनि भैसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु हुनेछ ।’
भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गंगापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ तालहरू मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गंगापूर्णजस्ता हिमतालको संरक्षण सबैभन्दा प्राथमिकतामा रहनुपर्ने बताउँछन् । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा रहेको सिङ्खर लेकमा खाजिन्सारा ताल (गड अफ फायर) फेला परेको थियो । विश्वकै अग्लो विन्दुमा रहेको मानिने तिलिचो (४९१९ मिटर) भन्दा झन्डै २ सय मिटर उचो स्थानमा रहेको भनेर प्रचारमा आए पनि खाजिन्साराबारेको स्वतन्त्र पुष्टि गरिएको छैन ।
मनाङ ङिस्याङ–६ का अध्यक्ष सोनाम गुरुङका अनुसार, गंगापूर्ण संरक्षणमा ३.५ मिटर उचाइ र १९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१.८ हेक्टर क्षेत्रफलमा गंगापूर्णलाई सुरक्षित तुल्याएर राखिने योजना छ । ‘धेरै त नभनौं, अबको दुई वर्षमा फेरि तपार्इंहरू घुमघाममा भ्राका आउनुहोस्,’ सोनाम भन्छन्, ‘मनोरम गंगापूर्णले तपाईंलाई हार्दिक स्वागत गर्नेछ ।’

कोसेली

एक दिन भ्राका छेउछाउ

- देवेन्द्र भट्टराई

 

गत वर्ष जेठ–असारमा आएको भीषण वर्षा र पहिरोले मर्स्याङ्दी नदी ३१ ठाउँमा थुनिएको थियो । पर्यटन व्यवसायको भरमा चलेको जिल्लाका धेरै चल्तीका होटल बगे, विद्यालय बगे र घरपरिवारकै उठीबास चल्यो । त्यही विपत्तीमाझ सबैले भन्ने गरेको जलवायु परिवर्तनको प्रवाहमा थिचिएको र धेरैले ख्याल नगरेको प्रकृतिको अर्को कुनो थियो— गंगापूर्ण ताल । हिमालपारिको जिल्ला मनाङ टेकेपछि सदरमुकाम चामे हुँदै कोतो, पिसाङ, हुम्दे, भ्राका, खाङ्सार, सिद्धिखर्कसम्म जान चाहने धेरैजसो यात्रुको रोजाइमा हुन्छ— गंगापूर्ण ताल, भ्राका गुम्बा वा मिलारेपा गुफा । तर, पछिल्ला वर्षहरूमा कोभिड महामारीको चपेटामाझ गुज्रिएको नेपाली बजारको चेपुवामा मनाङ पनि पर्‍यो, जसको भरथेग सधैंसधैं पर्यटक र पर्यटन हुने गर्थ्यो ।
यसअघि झन्डै ३ दशक आफ्नो थातथलोबाट बाहिरिएका कालु घले (५८) अहिले आफ्नै गाउँ भ्राका फर्किएका छन् । कहींकतै नपाइने प्राकृतिक सौन्दर्यबाट लोभिएर उनले भ्राकामा होटल निर्माण थालेका छन् । खाङसारकै छिरिङ दोर्जे (६०) पनि आफ्नै थातथलोमा सुविधापूर्ण नोर्बुलिङ होटल सञ्चालनको मुखैमा छन् । विशेषतः तिलिचो भ्रमणमा निस्केका पर्यटकका निम्ति तिलिचो बेस पुग्नुअघिको आरामयुक्त बसाइ प्रबन्धको लोभमा दोर्जे तानिएका हुन् ।
‘वर्षको ३ महिना हिउँले छोपिन्छ, अर्को ३ महिना बाढीबर्खाले कठिनाइ थप्छ । वर्षको ६ महिनासम्म चल्ने व्यवसाय वा कृषिखेतीका भरमा मनाङ चलेको छ,’ ३० वर्ष हङकङ बसेर घर फिरेका कालु भन्छन्, ‘तैपनि थोरै प्रचार र अलिकति सरकारी भरथेग भैदियो भने मनाङ फेरि उठ्न सक्छ भनेर यहाँ लगानी गरेको हुँ, आफ्नै पुरानो थातथलोमा फर्की आएको हुँ ।’ पर्यटनकर्मी स्वर्गीय आङछिरिङ शेर्पाकै सपनामा अर्का उद्यमी सरोज प्रधानसहित मिलेर कालुले सुरु गरेको भ्राका रिजोर्टमा १० करोड रुपैयाँ लगानी भइसकेको छ, सम्भवतः एक वर्षभित्रमा यो रिजोर्ट सञ्चालनमा आउनेछ ।
कालुको बुझाइमा, मनाङ–मुस्ताङजस्तो थलोका निम्ति सरकारले राख्ने थोरतिनो सदाशयता र सहयोगको मात्रै पनि धेरै अर्थ रहन्छ । उनले आँखैसामु देखेको दृष्टान्तमा विसं २०२० को आसपासमा राजा महेन्द्र भ्राका घुम्न आएका बेला स्थानीयवासीको आवश्यकता र मागमा मनाङी सर्वसाधारणले सुविधामा राहदानी पाउन थालेपछि हिमालपारिको यो जिल्लाले संसार देखेको हो । बन्द–व्यापारमा मनाङीहरू सिंगापुर, मलेसिया, हङकङ निस्कन थालेपछि जिल्लामा उद्यमीहरूको चहलपहल बढेको हो, दह्रो आर्थिक जग बस्न थालेको हो ।
चामे नजिकै भ्राताङमा एग्रो मनाङ योजनाले झन्डै ७ सय रोपनी क्षेत्रफलमा थालेको स्याउ खेती र सुविधायुक्त बसोबासको आकर्षण पनि मनाङभर चर्चाको विषय बनिसकेको छ । ‘प्रकृति र पर्यटनको सम्भावना देखेरै ७ वर्षअघि एग्रो–मनाङको योजना थालेका हौं,’ एग्रो मनाङका अध्यक्ष समराज गुरुङ भन्छन्, ‘सुरुमा थालिएको स्याउ खेती अहिले होटल हुँदै विभिन्न अर्गानिक उत्पादनको केन्द्र बनिसकेको छ । यसमा लगानी मात्रै २३ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।’
प्रकृति र पर्यटनलाई जोडेर केही फरक काम गर्न सकेमा परिणाम पनि राम्रै आउन सक्ने कुरामा समराज ढुक्क थिए । ‘अहिले पर्यटनमा अफ–सिजन सुरु भैसक्यो, तैपनि एग्रो–मनाङको अवस्थिति, सेवा र उत्पादनको विविधताका कारण अहिले पनि पर्यटकहरू आइरहेकै छन् । आउने दिनमा सबै याम र समयमा पर्यटनको सेवामुखी केन्द्रका रूपमा एग्रो मनाङलाई चिनाउने प्रयत्नमा रहनेछौं ।’
आशा ॅगंगापूर्ण’
थोराङपास उक्लनुअघि वा तिलिचो जानुअघिको उपल्लो मनाङमै धेरै आकर्षण लुकेका छन्– मिथदेखि किवंदन्तीसम्म । १ हजार वर्षअघि (११ औं शताब्दीताका) तिब्बती धर्मगुरु मिलारेपा आएर ध्यानमा बसेका थिए भन्ने जनविश्वासले भ्राकामाथिको पहाडमा मिलारेपा गुफालाई प्रख्यात बनाएको छ भने ६ सय वर्षअघि बनेको भ्राका गुम्बामा अझै पनि सयौं वर्ष पुराना हस्तलिखित बौद्ध मन्त्र र ग्रन्थलाई काठको जिल्दाले बेरेर राखेको हेर्न सकिन्छ । मुस्किलले चार्टर्ड वा कार्गो फ्लाइट मात्रै देखिने हुम्डे विमानस्थल आफैंमा पर्यटकीय गन्तव्यझैं बनेको छ भने केही वर्षअघिसम्म आँखैसामु देखिने ग्लेसियर वा हिमनदीहरू भने तस्बिरमा हेर्ने आकर्षण बनेका छन् ।
माथिल्लो मनाङको भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बहेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झँदै बसिरहेका भेटिए । ‘अरूभन्दा पनि ३८ सय २० मिटर उचाइको विन्दुमा रहेको गंगापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने थियो, अहिले भने यो ताल पनि मैदानझैं बनिसकेको स्थिति छ,’ घले भन्छन्, ‘स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गंगापूर्ण तालको तस्बिर लिएर प्रचारमा आएपछि यो ताललाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ ।’
झन्डै ९ किलोमिटर लामो गंगापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ । रिसर्च समूहका एक अनुसन्धानकर्ता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गंगापूर्णजस्ता तालहरूको अस्तित्व लोप हुन सक्ने सम्भावना बढेको छ । अन्वेषकका बुझाइमा, यो त्रासद स्थिति उब्जिए पनि मनाङ ङिस्याङ गाउँपालिका भने गंगापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ । ‘अहिले अस्तित्वै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले ३ करोड ५ लाख रुपैयाँ बजेट छुट्याएको छ,’ गंगापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका, वार्ड ६ का अध्यक्ष सोनाम गुरुङ भन्छन्, ‘टेन्डर पनि भैसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु हुनेछ ।’
भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गंगापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ तालहरू मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गंगापूर्णजस्ता हिमतालको संरक्षण सबैभन्दा प्राथमिकतामा रहनुपर्ने बताउँछन् । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा रहेको सिङ्खर लेकमा खाजिन्सारा ताल (गड अफ फायर) फेला परेको थियो । विश्वकै अग्लो विन्दुमा रहेको मानिने तिलिचो (४९१९ मिटर) भन्दा झन्डै २ सय मिटर उचो स्थानमा रहेको भनेर प्रचारमा आए पनि खाजिन्साराबारेको स्वतन्त्र पुष्टि गरिएको छैन ।
मनाङ ङिस्याङ–६ का अध्यक्ष सोनाम गुरुङका अनुसार, गंगापूर्ण संरक्षणमा ३.५ मिटर उचाइ र १९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१.८ हेक्टर क्षेत्रफलमा गंगापूर्णलाई सुरक्षित तुल्याएर राखिने योजना छ । ‘धेरै त नभनौं, अबको दुई वर्षमा फेरि तपार्इंहरू घुमघाममा भ्राका आउनुहोस्,’ सोनाम भन्छन्, ‘मनोरम गंगापूर्णले तपाईंलाई हार्दिक स्वागत गर्नेछ ।’