You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

प्रधानमन्त्रीबाटै प्रदेश उपेक्षित

प्रदेश सरकारका आन्तरिक मामिला (गृह) मन्त्रीलाई समेत केन्द्रीय प्रहरीको सुरक्षा
संघ र प्रदेशको समन्वय गर्न गठित अन्तर प्रदेश परिषद्को बैठक ३ वर्षदेखि बसेन
स्थानीय तहसम्म समन्वय गर्न व्यवस्था भएको राष्ट्रिय समन्वय परिषद् गठन नै भएन
- कलेन्द्र सेजुवाल

(काठमाडौं)
संघ र प्रदेशबीच समन्वय गर्न प्रधानमन्त्री नेतृत्वमा रहने अन्तरप्रदेश परिषद्को बैठक तीन वर्षयता बसेको छैन । अझ, स्थानीय तहसम्म समन्वय गर्न संविधानले नै व्यवस्था गरेको राष्ट्रिय समन्वय परिषद् अहिलेसम्म गठन नै भएको छैन । अधिकार बाँडफाँट तथा समन्वयमा केन्द्र सरकार संवेदनशील नभएको भन्दै मुख्यमन्त्रीहरू आक्रोशित छन् ।
संविधान बनेको सात वर्ष पुगेको छ, त्यतिमात्र होइन, प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत नेपाल प्रहरीको समायोजन हुन सकेको छैन । प्रदेश सरकारका मुख्यमन्त्री र आन्तरिक मामिला (गृह) मन्त्रीसहितका पदाधिकारीलाई समेत केन्द्रको प्रहरीले सुरक्षा दिइरहेको छ । प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीले प्रदेश प्रहरीसम्बन्धी ऐन बनाए पनि कार्यान्वयन हुन सकेको छैन । यतिमात्र होइन, संघीयताको मर्मअनुरूप प्रदेश तहमा हस्तान्तरण हुनुपर्ने संरचनाहरू संघीय सरकारकै मातहत छन् । प्रदेशका मन्त्रालयहरू बसेको जग्गासमेत केन्द्र सरकारका नाममा छन् ।
एक साताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘मुख्यमन्त्री’ हो कि ‘मुखमन्त्री’ हो भन्ने आफैंले थाहा नपाएको टिप्पणी गरेका थिए । ‘म हिजो जिल्ला विकास समितिको सभापति थिएँ, त्यतिबेला अझ बढी अधिकार थियो, अहिले नाम मात्रको मुख्यमन्त्री छु,’ वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनको गुनासो थियो, ‘मैले अस्तिको भेटमा प्रधानमन्त्रीज्यूलाई पनि संघीयता मन परेको छैन भने खारेज गरौं, होइन भने अधिकार दिनुहोस् भनेको छु ।’
संघीयतासँग सम्बन्धित विवाद र असहमतिमाथि छलफल हुने परिषद् निष्क्रिय हुँदा त्यसले संघीयतालाई थप कमजोर बनाएको बताउँछन् मधेसका मुख्यमन्त्री लालबाबु राउत । ‘मुख्यमन्त्रीहरूले आफ्नो भनाइ राख्ने र संघीय सरकारले पनि प्रदेशलाई आवश्यक पथप्रदर्शन गर्ने सबैभन्दा महत्त्वपूर्ण निकाय अन्तरप्रदेश परिषद् हो,’ राउतले कान्तिपुरसँग भने, ‘तर लामो समयसम्म बैठक नबस्दा संघीयता कार्यान्वयनमा देखिएका अनेकौं जटिलताको समाधान कहाँ गएर खोजौं ?’
स्थानीय तह र प्रदेश बलियो बनाउने यस्ता परिषद्लाई गतिशील बनाउन प्रधानमन्त्री नै इच्छुक देखिँदैनन् । प्रदेश सरकार बनेको १० महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मंसिरमा परिषद्को पहिलो बैठक बोलाएका थिए । २०७५ भदौमा बैठक बस्नुअघि केन्द्र सरकारसँग राख्ने एजेन्डाको विषयमा छलफल गर्न मुख्यमन्त्रीहरू पोखरामा भेला भएको विषयलाई प्रधानमन्त्रीले आफूविरुद्ध ‘गुटबन्दी’ गरेको रूपमा लिएका थिए । पोखरामा भेला भएर मुख्यमन्त्रीहरू काठमाडौं आउँदा नआउँदै प्रधानमन्त्रीले
परिषद्को बैठक नै स्थगित गरिदिएका थिए । त्यतिमात्र होइन, बालुवाटार धाउँदा पनि मुख्यमन्त्रीहरूले भेटसमेत पाएनन् । भदौमा रोकिएको पहिलो बैठक मंसिरमा मात्र बोलाइएको थियो ।
त्यसो त कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषयमा सत्तारूढ नेकपाभित्र विवाद चलेपछि ओलीले २०७७ कात्तिकमा ‘प्रदेश तह छुट्टै सरकार नभई संघीय सरकारको ‘युनिट’ (इकाइ)’ मात्र भएको बताएका थिए । ‘सुरुमा त परिषद्को बैठक बस्ने गर्थ्यो, तर पछिल्लो समय प्रधानमन्त्रीले बैठक बोलाउनै छोड्नुभएको थियो । परिषद्को बैठक नियमित रूपमा बस्न नसक्दा विशेषगरी प्रदेश तह आफ्नो अधिकार पाउनबाट वञ्चित भएका छन् ।’
२०७८ असार २९ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा मुख्यमन्त्रीहरूसँग एक वर्षमा एक पटक पनि बैठक बसेका छैनन् । ‘प्रधानमन्त्रीज्यूको ध्यान पार्टीको चुनाव र स्थानीय चुनाव गराउनेमै बढी केन्द्रित भयो, अब संसदीय चुनावतिर होला,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘यसले गर्दा संघीयता कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्ने आफ्नै नेतृत्वका संरचना भने पंगुजस्तै बनेका छन् ।’
संविधानको धारा २३४ ले संघ–प्रदेश तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुने विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा मुख्यमन्त्रीहरू रहने गरी अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ । परिषद्मा संघका गृहमन्त्री र अर्थमन्त्री पनि सदस्य हुन्छन् । २०७५ मंसिर २३–२४ मा बसेको परिषद्को पहिलो बैठकले संघीयता कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्न तत्कालीन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको थियो ।
त्यस्तै २०७५ पुस ३ मा बसेको दोस्रो बैठकले २९ बुँदे संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना स्वीकृत गरेको थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं प्रादेशिक समन्वय महाशाखा प्रमुख सहसचिव महादेव पन्थका अनुसार कार्ययोजनामा संघीयता कार्यान्वयनको क्रममा देखिएका विभिन्न २९ वटा व्यवधान पहिचान गरी समाधान गर्ने कार्यतालिका पनि बनाइएको थियो । २०७६ वैशाख १३ मा बसेको तेस्रो बैठकले आफ्नै बैठक बस्ने कार्यविधि स्वीकृत गरेको थियो । तर विडम्बना त्यसयता परिषद्को बैठक बसेको छैन ।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ ले प्रधानमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय राष्ट्रिय समन्वय परिषद् गठन गर्ने व्यवस्था गरेको छ । समन्वय परिषद्मा अर्थमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलका नेता वा निजले तोकेको संघीय संसद्का सदस्य, कानुनमन्त्री, गृहमन्त्री, संघीय मामिलामन्त्री, सबै मुख्यमन्त्री, सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट ७ जना सदस्य रहन्छन् । तर, यो परिषद् त गठनसमेत हुन सकेको छैन । प्रादेशिक समन्वय महाशाखा प्रमुख पन्थले परिषद्को बैठक नबस्दा संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या थाती रहेका र पहिले भएका निर्णयहरू पनि कार्यान्वयन हुन नसकेको बताए । ‘संविधानमा आवश्यकताअनुसार परिषद्को बैठक बस्ने भनिएको छ, यस बीचमा अन्तरप्रदेश परिषद्को बैठक बस्न नसके पनि प्रभावकारी समन्वय गर्न अन्य संयन्त्रले काम गरिरहेका छन्,’ उनले भने, ‘संघीय मन्त्रालयको नेतृत्वमा रहेका विभिन्न विषयगत समितिहरूले पनि आफ्नोतर्फबाट काम गरिरहेका छन् ।’
प्रधानमन्त्री र मुख्यमन्त्रीस्तरबाट सुल्झाउनुपर्ने बल्झनहरू भने मन्त्रालय र प्रशासनिक तहबाट समाधान हुन सक्ने अवस्था छैन । कतिपय प्रदेशले बनाएका कानुन संघीय कानुनसँग बाझिएका छन् । परिषद्को बैठक बस्न नसक्दा संघीय सरकारलाई चित्त नबुझेका यी मुद्दा पनि थाती नै रहेका छन् । मधेसले २०७७ मै ऐन निर्माण गरी जनलोकपाल आयोग गठन गरिसकेको छ । उक्त आयोग संघीघ सरकारको क्षेत्राधिकारमा पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग मिल्दोजुल्दो छ । संविधानको प्रदेश तहको अधिकारको सूची रहेको अनुसूची ६ मा जनलोकपाल गठनसम्बन्धी संरचना निर्माणको व्यवस्था छैन । त्यसैगरी वाग्मती प्रदेशले ११ औं तहको कर्मचारी पदपूर्ति प्रक्रिया सुरु गरेको छ । उक्त तहका कर्मचारी सहसचिवसरह हुन्छन् । अहिले संघीय सरकारले सहसचिवलाई प्रदेश सचिवका रूपमा पठाउने गरेको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार प्रभावित हुने गरी मधेस प्रदेशमा जनलोकपाल आयोग र वाग्मती प्रदेशमा संघीय सरकारबाट जाने मन्त्रालयका प्रदेश सचिवसरह ११ औं तहका कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको छ,’ प्रधानमन्त्री कर्यालयका प्रदेश समन्वय महाशाखा प्रमुख सहसचिव पन्थले भन्छन्, ‘यस्ता समस्या सुल्झाउनका लागि पनि अन्तरप्रदेश परिषद्को बैठक जरुरी भइसक्यो ।’
तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले राष्ट्रिय समन्वय परिषद्ले गर्ने काम अन्तरप्रदेश परिषद्बाटै हुने भएकाले गठनको आवश्यकता महसुस नभएको प्रतिक्रिया दिए । ‘अन्तरप्रदेश परिषद्मा मुख्यमन्त्रीसहित स्थानीय तहका प्रतिनिधि पनि सहभागी हुने भएकाले हामीले राष्ट्रिय समन्वय परिषद् गठनको आवश्यकता महसुस गरेका थिएनौं,’ उनले भने । तर यस्तो परिषद् आवश्यक छ भनेर ओली सरकारकै पालामा संसद्ले कानुनै बनाएको थियो ।
ओली सरकारकै बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका हृदयेश त्रिपाठीले भने राष्ट्रिय समन्वय परिषद् गठनको आवश्यकता महसुस भए पनि विभिन्न झमेलाले गठन हुन नसकेको बताए । ‘आवश्यक छ भनेरै कानुन बनेको हो, तर राजनीतिक झमेला भए,’ उनले भने । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल नेपालको संघीयताले तीन तहबीच सहकार्य, समन्वय र सहअस्तित्वको मर्म बोके पनि राष्ट्रिय समन्वय परिषद् सक्रिय नहुँदा समस्या देखिएको बताउँछिन् ।
संघीयता कार्यान्वयनमा सरकारी उदासीनतामाथि प्रश्न उठाउँदै संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले १५ बुँदे संकल्प प्रस्तावका साथमा सरकारलाई निर्देशन दिएको छ । संघीयताविद्समेत रहेका राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले पेस गरेको प्रस्तावमा आ–आफ्नो अधिकार क्षेत्रभित्रको लक्ष्मणरेखालाई तीन तहका सरकारले मनन गर्नुपर्ने, प्रदेशको आत्मसम्मानमा ठेस लाग्ने गरी काम गर्न नहुने, प्रदेशले पनि जथाभावी मन्त्रालयको संख्या थप्न नहुनेलगायत बुँदा छन् ।
गत जेठ १९ मा राष्ट्रिय सभाले संकल्प प्रस्ताव पारित गर्दै सांसद देवकोटाको संयोजकत्वमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समिति गठन गरेको छ ।

मुख्य पृष्ठ

समाजवादीका मन्त्री अझ आक्रामक

पार्टी उपाध्यक्ष तथा वाग्मतीका मुख्यमन्त्री पाण्डे भन्छन्, ‘शनिबार साँझसम्म यी साथीहरु जान्छन्, नयाँ आउँछन्’
- बबिता शर्मा

(काठमाडौं)
पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट फिर्ता नहुने अडान राखेका छन् । उनीहरू अध्यक्ष माधवकुमार नेपाललाई दबाबमा पारेर पदमा निरन्तर रहने रणनीतिमा छन् । त्यसैअनुसार उनीहरूसहित १० सांसदले शुक्रबार अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् ।
अर्को पार्टी बनाउने कानुनी प्रावधान नभए पनि आफूहरू बलियो रहेको देखाउन उनीहरूले हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेको एक नेताले बताए । पोलिटब्युरो बैठकमा पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रीहरूको आलोचना भएको थियो । तर, उनीहरूले फिर्ता हुनेबारे केही नबताएको ती नेताले बताए । बैठकमा पर्यटनमन्त्री प्रेम आलेले आफूलाई ४८ घण्टाको समय दिन माग गरेका थिए ।
‘शुक्रबार बिहान पार्टी कार्यालयमा ८ बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका छौं, नीतिगत हिसाबले पार्टी चल्नुपर्छ भन्ने हाम्रो माग हो,’ हस्ताक्षरकर्ता नीरादेवी जैरुले कान्तिपुरसँग भनिन्, ‘यसबारे पोलिटब्युरो बैठकबाट छलफल सुरु भएको छ, शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुन्छ ।’ जैरुले मन्त्रीहरू पार्टी निर्णय मान्न तयार रहेको तर केन्द्रीय कमिटी बैठकले नयाँ मन्त्रीका नामबारे पुनर्विचार गर्नुपर्ने बताइन् । पार्टीका आधा सांसद आफूहरूसँग रहेको सन्देश दिएर उनीहरूले अध्यक्ष नेपाललाई निर्णय पुनर्विचार गर्न दबाब दिएका छन् । हस्ताक्षर गर्नेमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठसहित सांसद कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र जैरु छन् ।
हस्ताक्षर पत्रमाथि छलफल गर्दै शुक्रबार पोलिटब्युरो बैठकले पार्टीको पूर्ववत् निर्णय कार्यान्वयनमा जोड दिएको छ । ‘पूर्ववत् निर्णयलाई परिवर्तन गर्ने होइन कि पार्टी निर्णय कार्यान्वयन गर्न तपाईंहरू आफैं लाग्नुहोस् भनेर अध्यक्षले मन्त्रीहरूलाई सम्झाउनुभएको छ,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘मन्त्रीहरूका विषयमा उठेका प्रश्नको ठोस जवाफ उहाँले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा पनि दिन्छु भन्नुभएको छ ।’
एक पदाधिकारीका अनुसार मन्त्रीहरूले भने नेतृत्वमाथि दबाब बनाएर सकभर नहट्ने रणनीति लिएका छन् । ‘मन्त्री हेरफेरको विषय लम्ब्याउने, नेतृत्वमाथि दबाब बढाउँदै जाने, सकेसम्म आफ्नै निरन्तरता सुनिश्चित गर्ने र नभए आफूअनुकूल हेरफेर गराउने उहाँहरूको रणनीति देखिन्छ,’ ती पदाधिकारी भन्छन्, ‘उहाँहरूको आठबुँदे ध्यानाकर्षण पत्रमा पनि यी विषय बुझिने गरी आएका छन् ।’
नेतृत्वसँग बार्गेनिङ गर्ने र धम्क्याएर भए पनि पद सुरक्षित गर्ने रणनीति देखिएको ती नेताको भनाइ छ । पोलिटब्युरो बैठकपछि मन्त्रीहरूले शुक्रबार छुट्टै छलफल गरेका थिए । शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा ध्यानाकर्षण पत्रबारे कुरा उठाउने तयारी उनीहरूको छ ।
उनीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा पार्टी निर्णय र नेतृत्वको नियतमाथि प्रश्न उठाउँदै निर्णय कार्यान्वयन सहज नभएको सन्देश दिइएको छ । ‘बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मानिँदैन,’ ध्यानाकर्षण पत्रको पहिलो बुँदामा उल्लेख छ । उनीहरूले कम्तीमा राष्ट्रिय सभाबाट बजेट पारित नभएसम्म आफूहरू कायमै रहनुपर्ने माग गरेका छन् ।
मन्त्रीहरूले शुक्रबारको पोलिटब्युरो बैठकमा पनि यही कुरा दोहोर्‍याएका छन् । स्वास्थ्यमन्त्री खतिवडाले पार्टीका समस्या लिखित बुझाएको र त्यसबारे बैठकमा छलफल अगाडि बढेको बताए । पार्टी निर्णय मान्न आफूहरू तयार रहेको तर पार्टीले पठाएका नाममा पुनर्विचार हुनुपर्ने सर्त उनीहरूको छ । खतिवडाले राष्ट्रिय सभाबाट बजेट पारित भएलगत्तै फिर्ता आउने बताए । ‘पार्टीका समस्याबारे हामीले लेखेर दिएका छौं, बैठकमा छलफल अगाडि बढेको छ, राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौं, पार्टी निर्णय मान्छौं,’ बैठकपछि उनले भने । प्रतिनिधिसभाबाट पारित भए पनि बजेट राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ । पर्यटनमन्त्री आलेले आफू ४८ घण्टाभित्र राजीनामा दिन तयार रहेको बैठकमा बताएका थिए ।
एकीकृत समाजवादीका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने शनिबार साँझसम्म मन्त्री फेरबदल हुने दाबी गरे । ‘बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिइसक्नुभो, त्यसकारण अब फर्किनुपर्ने हुन्छ,’ पोलिटब्युरो बैठकपछि उनले भने, ‘शनिबार साँझसम्म यी साथीहरू जान्छन्, नयाँ आउँछन् ।’ वरिष्ठ नेता मुकुन्द न्यौपानेले पनि आइतबार साँझसम्म मन्त्रीहरू फिर्ता हुने अपेक्षा गरेको बताए । ‘प्रधानमन्त्रीको पनि प्रतिष्ठाको विषय हुन्छ, गठबन्धनमा रहेको पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा आफूहरूमाथि ‘पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको र यस्तो कदापि ठीक मान्न नसकिने’ भन्दै मन्त्रीहरूले अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको ताकेताप्रति असन्तुष्टि पोखेका छन् । ‘बजेट पारित भएपछि गठबन्धनमा रहेका दलसँग सल्लाह गरेर पार्टी निर्णय कार्यान्वयन गर्ने भनिए पनि आजै, भोलि नै नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दबाब दिनु किमार्थ राम्रो मान्न सकिन्न’ भन्दै उनीहरूले नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन् ।
यसबाहेक ‘बजेट पास भएपछि छाड्छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानिएको’ भन्दै उनीहरूले त्यसप्रति गम्भीर असहमति राखेका छन् । यसबाहेक प्रस्ताव गरिएका मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित रहेको उनीहरूको निचोड छ । ध्यानाकर्षण पत्रमा सांसदहरूले सबैलाई एउटै व्यवहार नगरिएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एउटै जिल्लाबाट एकै पटक दुई जना सिफारिस गरिएको, पुराना र नयाँको सन्तुलन नमिलेको भन्दै प्रश्न उठाएका छन् । मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता, नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्नॅपर्ने उनीहरूको माग छ । यिनै विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन उनीहरूले माग गरेका छन् ।
अर्कोतर्फ मन्त्री बन्न पर्खिरहेका नेताहरूले निर्णय कार्यान्वयनमा भएको ढिलाइलाई लिएर पार्टी नेतृत्व, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शपथको पर्खाइमा रहेका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले माओवादी अध्यक्ष दाहालको प्रभावमा परेर मन्त्री फेर्ने निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । एकीकृत समाजवादीको जेठ २२ मा बसेको सचिवालय बैठकले बहालवाला मन्त्री फिर्ता बोलाएर चौधरीसहित जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र भवानी खापुङलाई पठाउने निर्णय गरेको थियो । राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।

मुख्य पृष्ठ

उराव समुदायका पहिलो पाइलट

छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरीको
- विनोद भण्डारी

(विराटनगर)
लालसरी झाँगडलाई अझै हो कि होइन भन्ने लागेको छ– २३ वर्षे छोरा प्रमोद पाइलट बनिसक्दा समेत । अल्पसंख्यक झाँगड (उराव) समुदाय गरिबी र अशिक्षाका कारण विगतमा जाँडरक्सी खाएर रमाउने र सिकार खेल्न हिँडने समूहका रूपमा चिनिन्थ्यो । पछिल्लो समय यो समुदायमा परिवर्तन आएको छ । तर पनि यो समुदायका युवाले उच्च शिक्षा पूरा गरेको भेटे अझै अचम्म मान्नेहरू छन् । प्रमोद आफ्नो समुदायबाट पहिलो पाइलट बनेका छन् । जीवनमा कहिल्यै विमान नचढेकी लालसरीलाई अब छोराले उडाएको विमान चढ्ने रहर छ ।
मोरङको कटहरी–५ भौडाहा बस्तीका प्रमोदले दुई महिनाअघि दक्षिण अफ्रिकाको बर्ड एभिएसन कलेजबाट कमर्सियल पाइलटको लाइसेन्स लिएका हुन् । उक्त कलेजबाट १८ महिनाको प्रशिक्षण पूरा गरेका उनी हाल नेपालको लाइसेन्स कन्भर्सन परीक्षाको तयारीमा छन् । उनले भने, ‘यो परीक्षा पास भएपछि यहाँको एयरलायन्समा आबद्ध हुने बाटो खुला हुन्छ ।’
आमाको रहर पूरा गर्न प्रमोदलाई पनि इच्छा छ । आफूले उडाउने जहाजको पहिलो उडानमा उनी बाआमालाई चढाउन चाहन्छन् । लालसरीले पुलकित हुँदै सुनाइन ‘मलाई पनि छोराले पहिलो पटक उडाएको हवाईजहाजमा बस्ने इच्छा छ ।’
बाबु विष्णु कृषक हुन् । उनले एक बिघा बेचेर छोरालाई पाइलट पढाएका हुन् । विराटनगर हाटखोलाको वाल्मीकि बोर्डिङ स्कुलबाट एसईई र ग्रीनल्यान्ड कलेजबाट विज्ञानमा १२ कक्षा सकेपछि प्रमोद पाइलट पढ्न गएका थिए ।
‘छोराले पाइलट बन्ने चाहना राख्यो,’ विष्णुले भने, ‘खेत बेचेर उसको इच्छा पूरा गरिदिएँ ।’ उनका अनुसार प्रमोदलाई पाइलट बनाउँदा करिब ५५ लाख रुपैयाँ खर्च भयो ।
प्रमोदका बाबु विष्णुले ५ र आमा लालसरीले ७ कक्षासम्म पढेका छन् । राजनीतिक रूपमा पनि सचेत लालसरी गत स्थानीय निर्वाचनमा कांग्रेसबाट वडामा महिला सदस्यकी उम्मेदवार थिइन् । प्रमोदका एक दिदी र एक भाइ छन् । दिदी संगीता स्टाफ नर्स छिन् भने भाइ मनीष ५ कक्षामा पढ्छन् ।
साबिकको भौडाहा र थलाहा गाविस हाल कटहरी गाउँपालिकाको वडा ५, ६ र ७ मा पर्छ । यहाँ करिब दुई हजार झाँगड (उराव) बस्छन् । स्थानीय हरि भट्टराईका अनुसार यो भेगमा मुस्किलले करिब दर्जन युवायुवती भेटिएलान्– ११, १२ र स्नातक तहमा पढने । मोरङ, सुनसरी, झापा, कञ्चनपुर, कैलाली, बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी र उदयपुरमा झाँगड (उराव) को बसोबास छ । उराव आदिवासी जनजाति प्रतिष्ठानका संस्थापक अध्यक्ष नुनुलाल उराव (झाँगड) का अनुसार मुलुकभरि झाँगडको जनसंख्या करिब अढाइ लाख मात्र छ । ‘तीमध्ये समुदायको पहिलो र एक्लो पाइलट प्रमोद हुन्,’ उनले भने । यो समुदायबाट निजामती सेवामा १० औं तहसम्म पुग्ने पहिलो र एक्लो व्यक्ति संस्थापक अध्यक्ष नुनुलाल नै हुन् । माटो विज्ञानमा एमएसी गरेका उनी कृषि विभागवाट दुई वर्षअघि सेवानिवृत्त भएका हुन् ।
पछिल्लो समय यो समुदाय आदिवासी जनजाति महासंघमा आबद्ध छ । यो समुदायबाट सुनसरीका शिवनारायण उराव संविधानसभा सदस्य पनि भए । नुनुलालका अनुसार सुनसरीको तत्कालीन नर्सिङ गाविसका सुरेन्द्र उराव प्राध्यापक डाक्टर छन् । त्यसैगरी सुनसरीकै नवीन उराव, सञ्जु उराव एमबीबीएस डाक्टर हुन् भने प्रवीन उराव सिभिल इन्जिनियर छन् । उनका अनुसार झाँगड समुदायका दर्जनबढी महिला स्टाफ र बीएससी नर्स छन् ।

Page 2
समाचार

महानगरको बजेट पूर्वाधार विकासमा केन्द्रित

सबैजसो महानगरले शिक्षा र स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेका छन् तर वातावरण, जैविक विविधताको संरक्षण, हरित नगरलगायतमा कम बजेट छुट्याएका छन्
- हेमन्त जोशी,विनोद भण्डारी,भूषण यादव,शंकर आचार्य,डा. रमेश पौडेल,दीपक परियार
विराटनगर महानगरपालिका नगरसभाको १० औं अधिवेशनमा शुक्रबार बजेट सार्वजनिक गर्दै उपप्रमुख शिल्पा निराला कार्की । तस्बिर: रासस

(काठमाडौं), (विराटनगर), (वीरगन्ज),  (भरतपुर), (पोखरा)
देशका ६ वटै महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन् । सबै महानगरको बजेट तीन अर्बभन्दा माथि देखिन्छ । महानगरले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखेका छन् तर वातावरण, जैविक विविधताको संरक्षण, हरित नगरलगायतका लागि कम बजेट छुट्याएका छन् ।
काठमाडौं महानगरपालिकाले कुल बजेटको झन्डै आधा पूर्वाधारमा छुट्याएको छ । महानगरले ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको बजेट पूर्वाधार विकासमा
छुट्याएको हो । पोखरा महानगरले भने पूर्वाधारतर्फ ४ अर्ब ५३ करोड ६२ हजार अर्थात् ५१.६८ प्रतिशत बजेट छुट्याएको छ । वीरगन्ज महानगरले कुल बजेटको एक तिहाइभन्दा बढी पूर्वाधारसम्बन्धी कार्यक्रममा खर्चने योजना बनाएको छ । त्यस्तै विराटनगर महानगरले पूर्वाधार विकासमा १ अर्ब ८९ करोड ७१ लाख खर्चने योजना बनाएको छ । भरतपुर महानगरले पूर्वाधार निर्माणतर्फ अधुरा तथा क्रमागत योजनाहरूको निरन्तरताका लागि एकमुष्ट १ अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ । ललितपुर महानगरले विस्तृत बजेट सार्वजनिक गर्नका लागि असार १६ मा अर्को नगरसभा बोलाएको छ ।
काठमाडौं महानगरले सम्पदा संरक्षण तथा संवर्द्धन, मौलिक पूर्वाधार विकास र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुनीता डंगोलले शुक्रबार नगरसभाको ११ औं अधिवेशनमा आगामी आर्थिक वर्षको आयव्यय अनुमान पेस गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएकामा त्यसको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ पूर्वाधार विकासमा छुट्याइएको छ । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ अर्थात् कुल बजेटको २०.९६ प्रतिशत छुट्याएको छ । त्यसैगरी, सुशासन क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार (१९.९६ प्रतिशत) र सामाजिक विकास क्षेत्रका लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार (७.२५ प्रतिशत) बजेट छुट्याइएको छ ।
आगामी आर्थिक वर्ष २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ बराबर आम्दानी हुने अनुमान महानगरले गरेको छ । यो रकमलाई बजेटको मुख्य स्रोत ठानिएको छ । संघीय तथा प्रदेश सरकारको अनुदान तथा जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी (३ अर्ब ५ करोड १ लाख ४७ हजार) लाई पनि बजेटको स्रोतका रूपमा देखाइएको छ । संघ र प्रदेशबाट प्राप्त हुने ससर्त अनुदानबाट १ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चितता भएको बजेटमा उल्लेख छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि महानगरले ५० करोड २१ लाख २४ हजार रुपैयाँ छुट्याएको छ ।
काठमाडौं महानगरपालिकाले बजेटमार्फत सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेको छ । हिटी, ढुंगेधारा, मठमन्दिरलगायत ऐतिहासिक र पुरातात्त्विक सम्पदा संरक्षणको विषय बजेटमा महत्त्वका साथ अटाएका छन् । वडा कार्यालयहरूबाट प्रवाह हुने सेवालाई चुस्तदुरुस्त बनाउन तथा गुणस्तर वृद्धि गर्नका लागि भन्दै महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा करिब दोब्बर बजेट छुट्याएको छ । मेट्रो रेलको सम्भाव्यता अध्ययन, बागदरबार (हरिभवन) लाई प्रबलीकरण, एकीकृत सीप विकास कार्यक्रम, वडा–वडामा मेलमिलाप केन्द्र स्थापना, मृत जीवजन्तुको अन्तिम संस्कारका लागि शवदाह गृहको निर्माणलगायत पूर्वाधार निर्माणका कार्यक्रमहरूका लागि बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी महानगर उज्यालो कार्यक्रम, डबलीहरूको पुनःस्थापना र एमपी थिएटर निर्माण, सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, महानगर ई–लाइब्रेरी, फोहोरबाट ऊर्जा निकाल्ने प्लान्ट जडान, महानगरपालिकाको विपद् जोखिम नक्सांकन, ई–गभर्नेन्स मास्टर प्लान, दमकल स्टेसन विस्तार, घरघरमा गई ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरणजस्ता महत्त्वाकांक्षी कार्यक्रमहरू पनि बजेटमा राखिएका छन् । इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन विशेष कार्यक्रम सञ्चालन गर्ने योजना महानगरको छ ।


ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० लागि ६ अर्ब ३५ करोड ३ हजारको बजेट प्रस्ताव गरेको छ । शुक्रबार नगरसभा बैठकमा नगरप्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन् । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए । उपप्रमुख मन्जली शाक्यले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुखी भएको बताइन् । महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजना थपिएको उनले बताइन् । नीति तथा कार्यक्रममा आवश्यक छलफल गर्न एक साता छुट्याइएको छ । असार १६ मा नगरसभाको अर्को बैठक बोलाइएको छ ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार महानगरको १० औं सभामा आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आवको भन्दा १ अर्ब ७२ लाखले कम हो । चालु आवमा ४ अर्ब ६३ करोड २ लाख ८१ हजार पाँच सय रुपैयाँको संशोधित बजेट थियो ।
पूर्वाधार विकासका क्षेत्रमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार, आर्थिक विकास क्षेत्रमा २७ करोड ७३ लाख, सामाजिक विकासमा ७८ करोड ३९ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रका लागि ३ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बजेटले वडास्तरीय योजनाका लागि ४२ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजना भुक्तानीका लागि ४० करोड, रुडपबाट निर्माण भएका सहित पक्की सडक मर्मतसम्भारका लागि १४ करोड, अन्य पूर्वाधार निर्माणका लागि ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपूरक कोषका लागि ४ करोड ८० लाख विनियोजन गरेको छ ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहभागिताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र संघसंस्थाबाट ३ करोड ६० लाख अनुमान गरेको छ ।
महानगरको आगामी आवको नीति, बजेट र कार्यक्रमले ‘हामी सबैको रहर, शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने दीर्घकालीन सोच राखिएको छ । सुखी नगरवासी, समृद्ध नगर भन्ने लक्ष्य लिएर त्यसलाई पूर्णता दिन सहरी पूर्वाधारको विकास र विस्तार, शिक्षा स्वास्थ्य तथा पोषणको विकास गरी नगरवासीको जीवनमा गुणात्मक विकास गर्ने भनिएको छ । ‘छोरी बचाऊ छोरी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिँदै गर्भवती तथा सुत्केरी महिला, अपांग र ज्येष्ठ नागरिकलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने उल्लेख गरेको छ ।
बजेटले सरोकारवालाको सुझावका आधारमा करका दरहरू घटाई दायरा फराकिलो पार्ने र आन्तरिक आय वृद्धिका लागि राजस्व सुधार योजना निर्माण गरी ०७९ लाई आन्तरिक राजस्व अभिवृद्धि वर्षका रूपमा लिने घोषणा गरेको छ ।
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ ।
वीरगन्ज महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले पेस गरेको बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाको कुल बजेटमध्ये अधिकांश बजेट संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र ससर्त नै हो । यस बजेटमा महानगरपालिकाको आन्तरिक आय व्यवस्थापनबाट प्राप्त रकम पनि समावेश गरेको आलमले जनाए । वीरगन्ज महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोडको बजेट ल्याएको थियो ।
महानगरपालिकाले आगामी आवका लागि आन्तरिक आय तथा राजस्वबाट ९५ करोड, संघीय सरकारबाट (वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र ससर्त अनुदानसमेतबाट) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाखको स्रोत जुटाउने उल्लेख गरेको छ ।
नगरप्रमुख राजेशमान सिंहले आगामी आवको नीति अधिवेशनमा पेस गरेका थिए । वीरगन्ज महानगरपालिकाको औद्योगिक तथा व्यापारिक सहर ः सुसंस्कृत र सभ्य हाम्रो वीरगन्ज महानगर भन्ने दीर्घकालीन सोच नै यस बजेट, नीति तथा कार्यक्रमहरूको दीर्घकालीन सोच रहने जनाइएको छ । औद्योगिक तथा व्यापारिक भूमिकामा प्रवर्द्धन गर्दै लगानी आकर्षित गर्ने, लगानीको संरक्षण, प्रवर्द्धन गर्दै औद्योगिक तथा व्यापारिक वातावरणलाई अनुभूति गर्ने गरी सुधार गरिनेछ । शिक्षा, स्वास्थ्यसम्बन्धी सूचकहरूमा सुधार, सहकारी तथा निजी क्षेत्रको भूमिकामा गुणात्मक सुधार, सूचना तथा प्रविधिको विकास, स्थानीय भौतिक पूर्वाधारहरूको निर्माण, कृषि, वन तथा वातावरण र पर्यटन क्षेत्रको विकास, मानवीय सूचकहरूको विकास र लैंगिकतामा आधारित न्यायपूर्ण र समतामूलक विकास नै यस वार्षिक नगर विकास योजनाको प्रमुख प्राथमिकताका क्षेत्रहरू रहने उल्लेख गरिएको छ ।
महानगरले पूर्वाधारसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब १९ करोड ९३ लाख प्रस्ताव गरेको छ । महानगरपालिकाको सामाजिक विकाससम्बन्धी कार्यक्रमका लागि ९९ करोड ३५ लाख ७९ हजार, सूचना प्रविधि र सञ्चारका लागि १ अर्ब ५ करोड ९५ लाख, सेवा प्रवाह र संगठन सुदृढीकरण कार्यक्रमका लागि ९३ करोड ५३ लाख, सरसफाइ व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू कार्यान्वयनका लागि ८ करोड ९१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
भरतपुर महानगरपालिकाले ११ औं नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेस गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष ०७९/८० का लागि पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको अनुमानित आयव्यय विवरण बजेट पेस गरेका हुन् । जसमा आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ हुनेछ । घरजग्गा रजिस्ट्रेसन र गिट्टी, ढुंगा, बालुवाजस्ता खानीसँग सम्बन्धित पदार्थ बिक्रीबाट प्राप्त हुने राजस्व आन्तरिक आयको मुख्य स्रोत भएको उपमेयर अधिकारीले बताए ।
बाटोघाटोजस्ता पूर्वाधार निर्माणमा जनस्तरबाट ३७ करोड रुपैयाँ उठाउन सकिने महानगरको अनुमान छ । चालु आर्थिक वर्षका लागि महानगरको बजेट पाँच अर्ब ५१ करोड रुपैयाँ रहेको छ । आन्तरिक आयमा जनसहभागितासमेत जोड्दा ९७ करोड रुपैयाँमात्रै उठेको अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा महानगरको चालु खर्च ६१ प्रतिशत र पुँजीगत खर्च ३५ प्रतिशत मात्रै भएको छ ।
आउँदो वर्षका लागि भरतपुर महानगरले सबैभन्दा धेरै पूर्वाधार निर्माणतर्फ अधुरा र क्रमागत योजनाहरूको निरन्तरताका लागि एकमुष्ट १ अर्ब ३० करोड रुपैयाँ र वडास्तरमा सम्पन्न हुने योजनाका लागि हरेक वडालाई साढे दुई करोड रुपैयाँका दरले रकम छुट्याएको छ । त्यसैगरी सहरी पूर्वाधार, बस्ती विकास र भूउपयोगका लागि थप ३४ करोड रुपैयाँ विनियोजन गरेको अधिकारीले बताए ।
कृषि तथा पशु विकासमा साढे १५ करोड रुपैयाँ र शिक्षाका लागि १३ करोड रुपैयाँ महानगरले खर्च गर्ने भएको छ । महानगरले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदान रकम बढाएर प्रतिलिटर तीन रुपैयाँ पुर्‍याउने भएको छ ।
महानगरवासीको सरोकारको मुख्य विषयलाई भने बजेटले सम्बोधन गरेको छैन । चितवन अहिले निकुञ्जका वन्यजन्तुबाट निकै नै आक्रान्त बनेको छ । एक आर्थिक वर्षमा मात्रै बाघ आक्रमणमा परेर १६ जनाको निधन भएको छ । पछिल्लो पटक बाघ आक्रमणमा परेर निधन भएका दुई जना भरतपुर महानगरकै बासिन्दा हुन् । बाघले जेठ २४ मा भरतपुर–२३ की मंगली बाटेर भरतपुर–२७ की रेखा बस्नेतलाई असार २ मा आक्रमण गरेर ज्यान लिएको थियो । महानगरका २९ मध्ये १० वटा वडाहरू चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्जसँग नजोडिए पनि थप ६ सातवटा वडाहरू वन क्षेत्रसँग जोडिएको र वन्यजन्तुबाट आक्रमण हुने जोखिम क्षेत्रहरू हुन् । शुक्रबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा यो विषय परेका छैनन् ।
तीन सय शय्याको केन्द्रीयस्तरको ‘शिक्षक (टिचर) अस्पताल’ भरतपुर–१५ मा बन्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार ११ औं नगरसभामा आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । चालु वर्षभन्दा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढीको बजेट सार्वजनिक भएको हो ।
बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख (२९.४९ प्रतिशत), प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार (१.२९ प्रतिशत), आन्तरिक आयबाट ३ अर्ब १ करोड (३४.२९ प्रतिशत), संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख (४.२५ प्रतिशत), प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर
गुरुङले बताइन् ।

महानगरले सबैभन्दा धेरै बजेट पूर्वाधार निर्माणमा छुट्याएको छ । पूर्वाधारतर्फ ४ अर्ब ५३ करोड ६२ हजार (५१.६८ प्रतिशत), नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड ८७ लाख ५७ हजार (१४.५७ प्रतिशत), सामाजिक विकासतर्फ २ अर्ब ६ करोड ९२ लाख ३३ हजार (२३.५७ प्रतिशत), शिक्षातर्फ १ अर्ब ४९ करोड ३६ लाख ६५ हजार (१७.०२ प्रतिशत), स्वास्थ्यतर्फ ५० करोड ५ लाख ८ हजार (४.५७ प्रतिशत), कृषितर्फ १६ करोड ७३ लाख ६५ हजार (१.९१ प्रतिशत), वडा कार्यालयतर्फ ७२ करोड ६० लाख (८.२८ प्रतिशत) बजेट छुट्याएको छ ।
महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो । यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र नगरप्रमुख–उपप्रमुखबीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी ७ बजे पुनः भएको हो ।
उपप्रमुख गुरुङले ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको अभियानमा अगाडि बढ्ने प्रभावकारी कदमका रूपमा आगामी वर्षको बजेट आएको बताइन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ अर्ब ८२ करोड ५८ लाख २९ हजार खर्च भई सुरु विनियोजनको ४४.०७ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्षको अन्त्यसम्म ८० प्रतिशत खर्च हुने संशोधिन अनुमान छ ।

समाचार

७०० पालिकाले ल्याए, ५३ को स्थगित

मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ७ सयले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले ५३ वटाले पूर्वनिर्धारित मितिमा बजेट ल्याएनन् । स्थानीय तहले हरेक आर्थिक वर्षको असार १० मा नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा छ ।
६ महानगरपालिकामा सबैले, ११ उपमहानगरमध्ये १० र २ सय ७६ नगरपालिकामध्ये २ सय ४८ वटाले बजेट सार्वजनिक गरेका छन् । मधेस प्रदेशका उपमहानगरपालिका र नगरपालिका गरी ७७ मध्ये ५७ वटाले बजेट सार्वजनिक गरेका छन् । २० वटाले बजेट पेस गरेनन् । वाग्मती प्रदेशको हेटौंडा उपमहानगरपालिका, काठमाडौंको बुढानीलकण्ठ र नुवाकोटको विदुर नगरपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । लुम्बिनी र गण्डकी प्रदेशका सबै नगरपालिका र उपमहानगरपालिकाले बजेट सार्वजनिक गरेका छन् । प्रदेश १ मा ३ वटा नगरपालिकाले बजेट ल्याएनन् । उक्त प्रदेशमा ४९ मध्ये ४७ नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले बजेट ल्याएका छन् । कर्णालीका २ वटा नगरपालिकाले बजेट पेस गरेनन् । सुदूरपश्चिमको ३४ नगरपालिकामध्ये एउटामा निर्वाचन नै रोकिएको छ । अर्को एउटामा प्रमुखविरुद्ध उजुरी परेकाले बजेट प्रस्तुत हुन सकेन । अन्य सबै नगरपालिकाले बजेट ल्याएका छन् ।
त्यसैगरी ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३५ वटाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलका १९ वटा गाउँपालिकाको अधिवेशन नै सुरु हुन सकेन । ६ वटा गाउँपालिकाको सूचना प्राप्त भएको छैन । गण्डकी र प्रदेश १ शतप्रतिशत गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् । वाग्मती प्रदेशमा सिन्धुपाल्चोकको बलेफी र सिन्धुलीको गोलन्जोर गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । मधेस प्रदेशका ५९ गाउँपालिकामध्ये ४७, वाग्मती प्रदेशको ७४ मध्ये ७२, लुम्बिनीको ७३ मध्ये ७०, कर्णाली र सुदूरपश्चिमको ५४/५४ मध्ये ५१/५१ गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् । महासंघले विज्ञप्ति जारी गर्दै ६ वटा गाउँपालिकासँग सम्पर्क हुन नसकेकाले समग्रमा ९५ प्रतिशतले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको जनाएको छ । बितेको ५ वर्षमा कुनै पनि आर्थिक वर्षमा तोकिएको समयमा बजेट नल्याएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाले यस पटक भने ल्याएको छ । यस पटक मधेस प्रदेशमा १२ वटा स्थानीय तहले बजेट बेलामा ल्याएनन् ।

Page 3
समाचार

स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न एडुफेयर

विश्वविद्यालयसम्म शैक्षिक क्यालेन्डर लागू गरे विद्यार्थी विदेश जानु नपर्ने विज्ञको भनाइ
- कान्तिपुर संवाददाता

(काठमाडौं)
विद्यार्थी र अभिभावकलाई स्वदेशकै शिक्षण संस्थामा पढ्न–पढाउन प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा शैक्षिक मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार ‘कान्तिपुर हिसान एडुफेयर (मेला)’ को उद्घाटन गरे । मेला उद्घाटन गर्दै उनले सरकार र निजी क्षेत्रले लगानी बढाउँदै लगे नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउन सकिने प्रस्ट्याए । त्यसका लागि नेपाली विद्यार्थीलाई पढ्न विदेश पठाउने प्रवृत्ति रोक्नुपर्ने उनको धारणा थियो ।
विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेन्डर लागू गर्न सके विद्यार्थी विदेश जानु नपर्ने उनको भनाइ थियो । ‘विश्वविद्यालयले समयमा नै भर्ना नखोल्दा पनि विद्यार्थी विदेश जान बाध्य छन्, नतिजा पनि समयमा आउँदैन,’ उनले भने, ‘विद्यार्थी मात्रै विदेश गएका छैनन्, वार्षिक अर्बौं नेपाली रुपैयाँ विदेश पुगेर आर्थिक संकटको स्थिति आएको छ ।’ राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिन सक्ने अवस्था नभएकाले निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो । त्यसका लागि निजी क्षेत्रबाट विश्वविद्यालयसमेत सञ्चालन गरिनुपर्ने उनले जनाए । ‘लगानीकर्ताले पनि शिक्षालाई पूरै व्यापार ठान्नु हुँदैन, सेवामूलक क्षेत्र हो भन्ने ठानेर लगानी वृद्धि गर्दै जानुपर्छ,’ उनले भने ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शैक्षिक मेलाले नेपालमै सञ्चालनमा रहेका शिक्षण संस्था प्रवर्द्धनमा टेवा पुर्‍याउने बताए । ‘विदेशका विश्वविद्यालयले दिने स्तरको शिक्षा दिन कहाँ चुक्यौं ?’ प्रश्न गर्दै उनले भने, ‘समीक्षा गर्ने बेला भएको छ, सरकारी र निजी शिक्षालयले सहकार्य गरेर अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा स्वदेशमै दिन सकिन्छ ।’ शर्माले परीक्षा सकेको साढे दुई महिनामा नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । ‘कोरोनाले शैक्षिक क्यालेन्डर केही प्रभावित भएको छ, त्यसलाई बोर्डले मिलाउँछ, समयमा नै परीक्षा लिने र नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइन्छ,’ उनले भने, ‘यसबाट पनि विदेश जाने विद्यार्थीलाई यहीँ पढ्न प्रोत्साहन मिल्छ ।’ परीक्षा प्रणाली सुधार गर्ने योजना बोर्डको प्राथमिकतामा रहेको र त्यसका लागि शिक्षकको क्षमता वृद्धि गरिने उनको भनाइ थियो ।
नेपाली विद्यार्थीलाई नेपालमै बसेर शिक्षा लिन प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । ‘विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेन्डर बनाएर लागू गर्न सके विदेश जाने विद्यार्थीको संख्यामा केही हदसम्म कमी आउँछ,’ उनले भने, ‘राज्यले समेत सरकारी र निजी शिक्षण संस्थालाई उचित मार्गनिर्देशन गर्न सकेको छैन ।’
कान्तिपुर पब्लिकेशन्स्का सीईओ महेश स्वाँरले उत्कृष्ट शिक्षा नेपालमै सम्भव छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको जनाए । ‘त्यसका लागि कान्तिपुरले हिसानसँग सहकार्य गरेको हो,’ उनले भने, ‘मेला अवलोकन गरेर विद्यार्थी–अभिभावकले आफूलाई सुहाउँदो शिक्षण संस्था रोज्न सक्नेछन् ।’
स्वदेशकै शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना, छात्रवृत्ति मापदण्डलगायत विषयमा जानकारी दिने उद्देश्यले आयोजित मेलामा ७४ शिक्षण संस्थाका स्टल छन् । एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला सञ्चालन गरिएको संयोजक युवराज शर्माले जानकारी दिए । शिक्षाका लागि सरकारले कानुनसमेत बनाउन नसकेको गुनासो गर्दै उनले कानुन अभावमा शिक्षण संस्थाले दीर्घकालीन योजना बनाउन नसकेको बताए । सरकारले शिक्षण संस्था सञ्चालनको मापदण्ड तोक्नुपर्ने उनको सुझाव थियो । ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिइएको मेला सोमबारसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार पहिलो दिन करिब २५ हजार विद्यार्थी, अभिभावक र सरोकारवालाले अवलोकन गरेका छन् । शनिबार विद्यार्थीबीच कविता प्रतियोगितासमेत हुँदै छ । एसर्ईई दिएर बसेका करिब ५ लाख विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलामा उपस्थित हुन नसक्ने विद्यार्थीले अनलाइनबाट पनि अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । मेलामा १ हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । कान्तिपुर हिसान एडुफेयरको यो सातौं संस्करण हो । कक्षा १२ का विद्यार्थीलाई लक्षित गरी छिट्टै उच्च शिक्षासम्बन्धी मेला आयोजना गरिने आयोजकको भनाइ छ ।

 

के भन्छन्  विद्यार्थी ?
इन्जिता श्रेष्ठ
डल्लु, काठमाडौं
मैले एसईई सकें, अब विज्ञान पढ्ने तयारीमा छु । मेलामा नामै नसुनेको कलेजबारे पनि बुझ्ने मौका पाएँ । स्वयंसेवकहरूले शिक्षण संस्थाका बारेमा विविध जानकारी दिनुभयो । के पढ्ने, कहाँ पढ्ने भनेर धेरै नै कन्फ्युजमा थिएँ, मेलामा आएपछि प्रस्ट भएँ । विज्ञानमा पनि के पढ्ने भन्ने दोधार थियो । विद्यार्थी, अभिभावकले आएर मेला घुम्दा धेरै नै सहयोग पुग्ने रहेछ । अब कुन विषय पढ्ने भन्ने अन्योल हटाउन मेला उपयोगी लाग्यो ।

अजय साह
गोलबजार, सिरहा
मैले म्यानेजमेन्ट पढ्ने विचार गरेको छु । मेलाका स्टलहरूमा सबै कलेजले एउटै कुरा भने । सुविधाहरू उस्तैउस्तै रहेछन् । एउटै विषय पढ्न पनि विषयचाहिँ कलेजपिच्छे फरक रहेछन् । अब आफूलाई मन परेका कलेज घुम्ने विचारमा छु । शुल्क, ल्याब, पुस्तकालयबारे जानकारी पाएँ । शिक्षकले कसरी पढाउँछन्, कोर्स कहिले सकिन्छ लगायतका समयतालिका पनि पाएँ । शिक्षण संस्थाका बारेमा बुझ्नचाहिँ मेलामा सजिलो भयो । धेरै ठाउँ डुल्न नपर्ने ।

सृष्टि निरौला
बूढानीलकण्ठ, काठमाडौं
प्लस टुमा म्यानेजमेन्ट पढ्ने सोच्दै छु । म अभिभावकको सल्लाहमा मेला आएको हुँ । यहाँ सस्तोदेखि महँगो कलेजका बारे जानकारी पाएँ । छात्रवृत्तिबारेमा पनि थाहा भयो । कलेजपिच्छे गुणस्तर पनि फरक रहेछ कि जस्तो लाग्यो । अतिरिक्त क्रियाकलापबारे पनि जानकारी दिइने रहेछ । शिक्षकहरूसँग पनि मेलामै भेट हुने अवसर रहेछ । इन्ट्रास र कलेज भिजिट गर्न समय पनि दिनुभएको छ । हामीजस्ता विद्यार्थी एक पटक मेला आए धेरै कुरा थाहा हुन्छ ।

सुदीप खड्का
चन्द्रागिरि, काठमाडौं
मेलामा कलेजका धेरै राम्राराम्रा मात्र कुरा सुनियो । अब आफू पढ्ने कलेजको भिजिट गर्ने विचारमा छु । आफ्नो आर्थिक अवस्थाअनुसार कुन विषय पढ्ने, सोच्नुपर्ने रहेछ । म कक्षा ११ मा भर्ना हुने तयारीमा छु । कलेजको पढाइ हुने समयतालिका, सातापिच्छे हुने परीक्षा, शुल्क, खेलकुद, भ्रमणलगायत कार्यक्रमबारे पनि जान्न पाइयो । एकै ठाउँमा धेरै कलेजबारे जानकारी पाउने मेला एकदमै उपयोगी लाग्यो ।

समाचार

'अन्तर्राष्ट्रिय स्तरका शिक्षण संस्था नेपालमै छन्'

- कान्तिपुर संवाददाता

राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि सातौं कान्तिपुर हिसान एडुफेयर सुरू भएको छ । सोमबारसम्म चल्ने मेलाका विषयमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीसँग सुदीप कैनीले गरेको कुराकानी :

हरेक वर्ष कान्तिपुर हिसान शैक्षिक मेला आयोजना गर्नुको उद्देश्य के हो ?
स्वदेशमै उत्कृष्ट शिक्षण संस्था छन् । यहीं गुणस्तरीय पढाइ हुन्छ भन्ने सन्देश दिन खोजिएको हो । अर्को कुरा, नेपालका शिक्षण संस्था पनि अन्तर्राष्ट्रियस्तरका छन् भनेर देखाउन खोजिएको हो । भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार, फ्याकल्टी, विद्यार्थीलगायत विविध कार्यक्रम सबल हुँदै छन् भन्ने उदाहरण पनि हो यो । त्यसका लागि ब्रान्डिङ गर्दै सबै शिक्षण संस्था एकै ठाउँमा बसेर स्वस्थ प्रतिस्पर्धा गर्न खोजिएको हो । यसले विद्यार्थी, अभिभावकलाई सबैभन्दा बढी फाइदा पुग्छ । एकै ठाउँबाट धेरैभन्दा धेरै शिक्षण संस्थाको जानकारी दिन खोजिएको हो । ७४ शिक्षण संस्थाको सूचना एकै ठाउँमा केन्द्रित गरिएको छ । शिक्षण संस्थाबारे कस्तो–कस्तो जानकारी चाहिन्छ, त्यो लिन सकिन्छ ।

यस्ता मेलाबाट के अपेक्षा गर्न सकिन्छ ?
पढ्नकै लागि विदेश जानुपर्ने अवस्था छैन भन्ने कुरा मेलाले देखाउँछ । विद्यार्थीसँगै नेपाली पैसा पनि विदेशिएको छ । विदेश जानेको भीडलाई कम गर्न मेलाले मद्दत गर्दै आएको छ । निजी शैक्षिक संस्थाले के गरिरहेका छन्, उनीहरूको हैसियत के छ भन्ने कुरा मेलाबाट देखिन्छ । विदेश जाने सोचमा रहेका विद्यार्थी अभिभावकले पनि मेला अवलोकन गरेपछि निर्णय परिवर्तन गरेको उदाहरण विगतदेखि नै छ । राज्यले सकारात्मक रूपमा सहयोग गरे अझै धेरै सुधार गर्न सकिन्छ । नेपालका सबै शिक्षण संस्था सुधार गरेर अन्तर्राष्ट्रिय मापदण्डस्तरकै बनाउन सकिन्छ । निजी शिक्षण संस्थालाई नियमन गर्दै गुणस्तरीय, उत्कृष्ट शिक्षा नेपालमा नै दिन सक्ने वातावरण बनाउनुपर्छ ।

'उत्कृष्ट शिक्षा नेपाल’ मै भन्ने मेलाको नारा छ । यसलाई कसरी मेलाले प्रोत्साहन गर्छ ?
यो नारा एउटा शिक्षण संस्था, एउटा व्यक्तिले बोलेर स्थापित हुन सक्दैन । संस्थागत रूपमै हिसानले नारा दिएर मेला आयोजना गरेको हो । त्यसमा सरकार, अभिभावक, विद्यार्थी, सरोकारवाला, सञ्चारमाध्यमको सहयोग चाहिन्छ । सबैलाई हाम्रा शिक्षण संस्थाको पूर्वाधार, शैक्षिक अवस्था, शिक्षण पद्धति, परीक्षा प्रणालीलगायत विविध शैक्षिक पक्ष हेर्न आउनुस् भनेर बोलाएका छौं । हाम्रो दाबी के भने हामी विदेशमा जस्तै शिक्षा दिन सक्षम छौं । हाम्रा शिक्षण संस्थाका हरेक पक्ष अन्तर्राष्ट्रिय मापदण्डका हुँदै गएका छन् । क्रमिक रूपमा सबल हुँदै गएका छन् । यो शिक्षक, अभिभावक, विद्यार्थी सबैले हेर्न लायक छ । यसले विद्यार्थी अभिभावकलाई आकर्षित पनि गरेको छ ।

कोभिडपछि शिक्षण संस्थाको अवस्था कस्तो देखिन्छ ?
पूरै पहिलेकै अवस्थामा आउन सकेका छैनन् तर लयमा फर्किने क्रममा छन् । हामीले कोभिडका कारण दुई वर्षपछि मात्रै मेला गर्दै छौं । यो पनि बिस्तारै शिक्षण संस्था तंग्रिँदै छन् भन्ने सन्देश हो । शैक्षिक संस्थालाई अझै प्रोत्साहन गर्न पनि मेला गरिएको हो । शिक्षण संस्थाका गतिविधि अझै बढाउन चाहन्छौं । कोभिडका असर बाँकी छन् । आर्थिक रूपमा शिक्षण संस्था अझै समस्यामा छन् । शिक्षक, लगानीकर्ता विस्थापित हुने, विद्यार्थी नपाउने समस्या थियो । अभिभावक पनि आर्थिक समस्यामा हुनुहुन्थ्यो । समस्या बिस्तारै हट्दै जान थालेको छ ।

Page 4
वाग्मती प्रदेश

प्रदेशका सबैजसो पालिकाले ल्याए बजेट

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकास मुख्य प्राथमिकतामा
एमालेका जनप्रतिनिधिले बहिष्कार गरेपछि हेटौंडाको नगरसभा स्थगित
- प्रदेश ब्युरो
भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा शुक्रबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिँदै । तस्बिर : कान्तिपुर

 (हेटौंडा)
वाग्मती प्रदेशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार बजेट ल्याएका छन् । स्थानीय तहमा जेठ मसान्तसम्म एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरी असार ५ सम्म कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र गाउँ/नगरसभामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार शुक्रबार स्थानीय तहहरूले आगामी वर्षका लागि राजस्व र व्ययको अनुमानित विवरण (बजेट) र नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । धेरैजसो स्थानीय तहले बजेट अंक मात्रै तय गरेका छन् भने केहीले नीति तथा कार्यक्रम मात्रै तय गरेका छन् । कतिपयको नगर/गाउँसभा नै स्थगन भएको छ ।
प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको नगरसभा गणपूरक संख्या नपुगेपछि स्थगन गरिएको छ । नगरसभामा बहुमत रहेको एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा नगरसभा प्रभावित बनेको हो । बिहान १० बजेका लागि बोलाइएको ११ औं अधिवेशनमा एमालेबाट टिकट पाएर निर्वाचित नगरसभा सदस्यहरू उपस्थित भएर पनि हस्ताक्षर नगरी बहिष्कार गरेपछि उपमहानगर प्रमुख मीनाकुमारी लामाले बैठक स्थगन गरेकी हुन् । नगरसभा आइतबार दिउँसो १ बजेका लागि पुनः बोलाइएको छ । नगरसभा सञ्चालनबारे सर्वदलीय छलफल भए पनि सहमति नजुट्दा प्रमुख लामाले ३ दिनका लागि स्थगन गरेकी हुन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधि सभाहलमा प्रवेश नगरी बाहिरै बसेका थिए । एमालेले प्रमुखको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकबाटै नेकपा (एस) बाट निर्वाचित प्रमुख लामालाई असहयोग गरिरहेको छ । एमालेले बैठक सञ्चालन कार्यविधि, २०७४ को दफा १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।
लामा भने बैठक सञ्चालन कार्यविधि संशोधन नगर्ने पक्षमा छिन् । तत्कालीन एमालेको बहुमत रहेकै समयमा एमालैबाट निर्वाचित प्रमुख हरिबहादुर महतको प्रस्तावमा पारित कार्यविधि संशोधन गर्नु नपर्ने तर्क उनको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको छ । कुल ९७ नगरसभा सदस्यमध्ये एमालेका ५४ जना छन् ।
एमालेले विषयगत समिति गठन नगरी बजेट र नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएको छ । नगर प्रमुख र उपप्रमुखले एकलौटी, मनोमानी र असम्बन्धित व्यक्तिको संलग्नतामा बजेट निर्माण गरेको आरोपसमेत लगाएको छ । उपमहानगरले करिब २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
मकवानपुरकै थाहा नगरपालिकाले पनि वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बजेटमा पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । थाहाले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । शुक्रबारको नगरसभा तथा ११ औं अधिवेशनमा उपप्रमुख भरत गोपालीले कुल बजेटमध्ये चालुतर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगततर्फ ५१ करोड ७२ लाख १३ हजार, ससर्ततर्फ ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ विनियोजन गरेका छन् । बजेटमा भीमफेदी–सिमभन्ज्याङ र सिमभन्ज्याङ–चन्द्रागिरि खण्डमा केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।

सिन्धुलीका २ पालिका असमर्थ
सिन्धुलीका ९ स्थानीय तहमध्ये शुक्रबार ७ वटाले आगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । हरिहरपुरगढी गाउँपालिकाले तयारी नपुगेको र गोलन्जोर गाउँपालिकाले आन्तरिक विवादका कारण ल्याउन सकेनन् । दुवै पालिकाले असार १५ भित्र बजेट ल्याइसक्ने जनाएका छन् ।
कमलामाई नगरपालिकाले बजेटमा कृषि एम्बुलेन्स सञ्चालन गरी कृषि क्षेत्रको व्यवस्थापन, उत्पादन र बजारीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । कमलामाईले कुल १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । यस्तै, सूर्यगढी गाउँपालिकाले ५१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ‘समृद्ध सूर्यगढी, सुखी सूर्यगढी’ को आकांक्षा पूरा गर्ने अठोटका साथ नीति तथा कार्यक्रम र बजेट ल्याइएको पालिका अध्यक्ष सन्तबहादुर घलेले बताए । उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालका अनुसार आगामी वर्षका लागि ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट ल्याइएको छ । बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा लगानी गर्ने पालिकाको लक्ष्य छ ।

चुनावी घोषणा नै नीति तथा कार्यक्रममा
काभ्रेका स्थानीय तहमा जनप्रतिनिधिले चुनावी घोषणापत्रमा भएका विषयलाई नै समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नमोबुद्ध नगरपालिकाले रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न कृषि सहकारीसँगको समन्वयमा मल बैंक स्थापना गर्नेलगायत कार्यक्रम अघि सारेको छ । नगर प्रमुख कुन्साङ लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माटो मिनी ल्याब, भेटेनरी ल्याब स्थापना गर्ने उल्लेख छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न संघीय सरकारको अनुदानमा सतप्रतिशत अनुदान थप गर्ने पनि नगरको नीति छ । नमोबुद्ध–९ मा रहेको नगर अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिने पनि नगर प्रमुख लामाले जानकारी दिए । ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा असल अभ्यास गर्नेलाई ‘नमोबुद्ध असल बुहारी’ पुरस्कार प्रदान गर्ने, सामुदायिक शैक्षिक संस्थामा स्नातक र सोभन्दा माथि अध्ययन गर्ने बुहारीलाई पूर्ण छात्रवृति उपलब्ध गराउने कार्यक्रम पनि अघि सारिएको उनको भनाइ छ ।
बनेपा नगरपालिकाले २ सय शय्याको अस्पताल, १५ शय्याको नगर अस्पताल निर्माण गर्ने विषयलाई प्राथमिकता दिएको छ । धुलिखेल नगरपालिकाले दीर्घरोगीहरूलाई घरघरमा औषधि पुर्‍याउने र स्वास्थ्य परीक्षणको व्यवस्थापन गर्ने कार्यक्रम प्रस्ताव गरेको छ । नगर क्षेत्रमा महामारी प्रभावित, अतिअशक्त विपन्न नागरिक, सुत्केरी, गर्भवती तथा उत्तर प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने कार्यक्रम पनि अघि सारिएको छ । पनौती नगरपालिकाले पनि आधारभूत स्वास्थ्य सेवालाई घरदैलोमुखी बनाउन ‘स्वास्थ्य ज्येष्ठ नागरिक अभियान’ सञ्चालन गर्ने जनाएको छ । टेलिमेडिसिन र मोबाइल हेल्थ प्रणाली सुरुवात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पनौतीले १ अर्ब ६० करोड १३ लाख, बनेपाले १ अर्ब ५५ करोड २४ लाख, धुलिखेलले १ अर्ब ३५ करोड, पाँचखालले १ अर्ब २९ करोड ९६ लाख, मण्डनदेउपुरले १ अर्ब १ करोड र नमोबुद्ध नगरपालिकाले ७४ करोड ४८ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । रोसी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजार, बेथानचोकले ५९ करोड ११ लाख ८२ हजार, खानीखोलाले ४७ करोड ४ लाख ७ हजार र महाभारतले २८ करोड ५० लाखको बजेट अघि सारेका छन् ।
तर, जिल्लाका ३ स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् । जसमा भुम्लु, तेमाल र चौंरीदेउराली गाउँपालिका छन् । केही दिनमा नै बजेट प्रस्तुत गर्ने तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।

वाग्मती प्रदेश

शिक्षामा भक्तपुरको २०∞ बजेट

भक्तपुर (कास)– शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएको छ । शुक्रबार १२ औं नगरसभामा उपप्रमुख रजनी जोशीले २ अर्ब १८ करोड ४२ लाख रुपैयाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गरिन् । पालिकाको आन्तरिक स्रोत, संघ र प्रदेश सरकारको अनुदान रकम, ऋण सापटीलगायत आधारमा बजेट तय गरिएको उनको भनाइ छ ।
पालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा १९.४३ प्रतिशत बजेट विनियोजन गरेको जनाएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणमा १८.०७ प्रतिशत, फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत बजेट छुट्याएको छ ।
चाँगुनारायण नगरपालिकाले पनि शुक्रबारै १ अर्ब ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको ११ औं नगर अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले पुँजीगततर्फ १ अर्ब ९ करोड ३ लाख ६३ हजार (५९.८ प्रतिशत) र चालुतर्फ ७२ करोड ७१ लाख ८३ हजार रुपैयाँ (४०.२ प्रतिशत) विनियोजन गरेको जनाए ।
त्यसैगरी, सूर्यविनायक नगरपालिकाले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँको बजेट अघि सारेको छ । नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले प्रस्तुत गरेको बजेटमा ससर्तका अनुदानका कार्यक्रम सञ्चालन गर्न २६ करोड ६७ लाख ८४ हजार, चालुतर्फ २५ करोड २५ लाख र पुँजीगततर्फ ९९ करोड ४३ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्न १६ करोड रुपैयाँ छुट्याइएको भट्टराईले जानकारी दिइन् । मध्यपुर थिमि नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट सार्वजनिक गर्न सकेको छैन ।

वाग्मती प्रदेश

विदुरको नगरसभा स्थगित

नुवाकोट (कास)– विदुरको  नगरसभा सोमबारसम्मलाई स्थगन गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट पारित नीति तथा कार्यक्रम र बजेट नगर सदस्यलाई हेर्न नदिई सोझै सभामा लगिएको भन्दै विरोध भएपछि बैठक स्थगन भएको हो । ‘बजेट, नीति तथा कार्यक्रम बोर्डले पास गरी स्वीकृति दिएर पेस गर्ने निर्णय गरियो भनेर लेखिएको रहेछ,’ विदुर–१ अध्यक्षका लेनिन रञ्जितले भने, ‘स्वीकृति शब्द हटाई पेस गर्ने शब्द राख्नुस् भन्दा प्रमुखले सभा स्थगन गरे ।’ वडा–४ अध्यक्षले माइन्युट च्यातेको प्रमुख राजन श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Page 5
अर्थ वाणिज्य

दशकअघि असफल दुई रङका सिलिन्डर कार्यान्वयन कसरी ?

ग्यास विक्रेताले प्रतिकार्ड १० रूपैयाँ लिएर सर्वसाधारणबाट ६२ लाख असुले तर कार्ड लागू भएन, सर्वसाधारणको पैसा पनि फिर्ता भएन
- राजु चौधरी

(काठमाडौं)
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले केही दिनअघि एलपी ग्यासको घरायसी र व्यावसायिक प्रयोगका लागि अलग–अलग मूल्य कायम गर्ने बताए । घरायसी र व्यावसायिक प्रयोजन छुट्याएर परल मूल्य लागू गर्नेमा उनको जोड थियो । त्यसका लागि नेपाल आयल निगम सञ्चालक समिति सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको उनको भनाइ थियो ।
असार ६ मा निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पनि छिट्टै दुई थरी मूल्य निर्धारण गरिने बताए । उनले गन्ध, रङ र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्य कायम गर्ने जनाएका थिए । ‘औद्योगिक प्रयोजनका लागि परल मूल्य र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बेच्ने तयारी छ । गन्ध र सिलिन्डरको रङ पनि फरक हुन्छ,’ थानीले भनेका थिए, ‘हिजो रातो र नीलो सिलिन्डरको मात्रै कुरा गरियो । अब रङको मात्रै होइन, ५ देखि ४ सय किलोसम्मका ग्यास सिलिन्डरमा जान्छौं ।’
कार्यकारी निर्देशकले भने जस्तै रातो र नीलो सिलिन्डर विफल कार्यक्रम हो । करिब एक दशकअघि सरकारले उपभोक्ता कार्ड कार्यान्वयन गर्ने योजना बनाएको थियो । तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग, कलकारखाना र होटललाई नीलो र घरायसी प्रयोजनका लागि रातो सिलिन्डर प्रयोगमा ल्याउने बताएका थिए । त्यसका लागि ग्यास कार्ड छपाइ भइसकेको थियो । तर कार्यान्वयन भएन । सर्वसाधारणबाट उठाइएको रकम पनि दुरुपयोग भयो ।
 ‘कार्ड छाप्न ग्यास विक्रेता महासंघले निगमबाट करिब ८० लाख रुपैयाँ लिएको थियो । कार्ड छपाएपछि निगमले ६ लाख २० हजार कार्डको प्रमाणीकरण गरी ग्यास विक्रेतालाई दिइसकेको थियो,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘ग्यास विक्रेताले सर्वसाधारणसँग प्रतिकार्ड १० रुपैयाँमा बेचेर ६२ लाख रुपैयाँ असुलिसकेका छन् । तर कार्ड लागू भएन, सर्वसाधारणको पैसा पनि फिर्ता भएन ।’ उक्त रकम निगमले प्रमाणीकरण गरेको कार्डको हो । त्यस बेला बजारमा ५४ लाख सिलिन्डर कारोबारमा थिए । विक्रेताहरूले सबै सिलिन्डरबापत रकम असुलेको महर्जनको आरोप छ ।
‘निगमबाट दिइएको पैसा कार्ड छपाइमा प्रयोग भए पनि सर्वसाधारणको पैसा खोइ ?’ महर्जनले सोधे, ‘ग्यास कार्डका नाममा सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलियो । तर अहिले विफल कार्यक्रम बिनाअध्ययन हचुवामा ब्युँताइँदै छ ।’ ग्यास कार्ड झापादेखि कैलालीसम्मका उपभोक्तामाझ वितरण भइसकेको छ । तर कार्ड लागू भएन । त्यसपछि मन्त्रालयले ०७३ मा ग्यास कार्ड कार्यान्वयन गर्न अर्को समिति गठन गरेको थियो । ‘समस्या पर्दा सबैले देख्ने, समस्याबाट छुटकारा पाउँदा फेरि बिर्सने प्रवृत्ति देखियो । कार्यदलले सुझाव दिए पनि व्यवसायीले इच्छा देखाएनन् ।
सरकारले पनि चासो दिएन,’ समितिको सदस्यसमेत रहेका महर्जनले भने ।
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने निगमबाट ८० लाख नलिइएको दाबी गरे । ‘उद्योग र संघले करिब ११ लाख कार्ड छापेका हौं,’ अर्यालले भने, ‘कार्डबाट उठाइएको रकमले कम्प्युटर किन्यौं । कार्ड प्रमाणीकरण गर्न निगममा कर्मचारी खटाएका थियौं, त्यहाँ पनि तिरेका छौं ।’ अहिले पुनः तयारी भइरहेको दुई रङका सिलिन्डरले विकृति ल्याउने उनको दाबी छ । ‘सरकारले ५ किलोदेखि ४ सय किलोका सिलिन्डरको कुरा गरिरहेको छ । ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्न एक सय रुपैयाँको पाइप किन्न पाइन्छ,’ अध्यक्ष अर्यालले भने, ‘यसले बजारमा थप विकृति बढाउँछ ।’ सर्वसाधारणलाई राहत दिन ग्यासमा लाग्दै आएको भ्याट नै खारेज गर्नुपर्ने उनको भनाइ छ ।
निगमले भारतीय आयल कर्पोरेसनबाट एउटा सिलिन्डर १८ सय ८६ रुपैयाँ २० पैसामा किन्छ । त्यसमा थप ३ सय २० रुपैयाँ ८४ पैसा राजस्व, निगमको खर्चबापत ८ रुपैयाँ ५२ पैसा र बिमा खर्च १ रुपैयाँ ८९ पैसा जोडिन्छ । ग्यास कम्पनीको खर्च/मुनाफा शीर्षकमा ३ सय ३३ रुपैयाँ ६० पैसा जोडेर मूल्य निर्धारण गरिन्छ । हाल उपभोक्ता मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ । यसमा निगमलाई प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा नोक्सान छ । ग्यासबाट मात्रै १५ दिनमा १ खर्ब १३ करोड नोक्सान बेहोर्नुपरेको निगमको भनाइ छ । ग्यासको भ्याट खारेज गरे निगमको नोक्सानी केही कम हुने जानकारहरू बताउँछन् । तर सानो परिमाणको सिलिन्डरले बजारमा जोखिम मात्रै सिर्जना हुने उनीहरूको भनाइ छ ।
सानो सिलिन्डरले स्वदेशी पैसा बाहिर जाने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा बताउँछन् । ‘विगतमा सफल थिएन । सफ्टवेयर विकास गरेर डिजिटल प्रविधिमा जानुको विकल्प छैन । लक्षित वर्ग पहिचान गरेर नगद अनुदान नै दिनुपर्छ,’ उनले भने, ‘मतपत्र, परिचयपत्रलगायतको संयन्त्रमार्फत लक्षित वर्गलाई सहुलियत दिनुपर्छ ।’
एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पनि विगतमा कार्यान्वयन नभएको दुई रङका सिलिन्डर अध्ययन गरेर मात्रै कार्यान्वयनतर्फ जानुपर्नेमा जोड दिए । ‘व्यवसायीका लागि ठूलो सिलिन्डर र फरक रङ/गन्ध भए सम्भव हुन सक्ला । तर एउटै आकारको सिलिन्डर भए फेल हुन्छ,’ उनले भने । उद्योगलाई कम्तीमा परल मूल्यमा बेच्ने वातावरण बनाउने उद्देश्य आफूहरूको रहेको निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख नेत्र काफ्लेले बताए ।
घरायसी एवं व्यावसायिक प्रयोजनका सिलिन्डरबारे अध्ययन भइरहेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रको भनाइ छ । ‘विक्रेता, उद्योगीसँगै विदेशमा भएको व्यवस्थाबारे छलफल गरिरहेका छौं । अन्य ठाउँको व्यवस्था पनि अध्ययन गर्दै छौं,’ घरायसी र व्यावसायिक प्रयोजनका लागि अध्ययन गर्न गठित उपसमिति संयोजकसमेत रहेका महानिर्देशक मिश्रले भने, ‘यही नै लागू हुन्छ भन्नेमा निष्कर्षमा पुगिसकेका छैनौं । एक सातामा प्रतिवेदन बन्छ, त्यसपछि कसरी अघि बढ्ने भन्ने निर्क्योल हुन्छ ।’

अर्थ वाणिज्य

फास्ट ट्र्याकमा ३ सातापछि सुरुङ निर्माण पुनः सुरु

- विमल खतिवडा

(काठमाडौं)
काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरुङ निर्माणमा निलम्बन गरिएका दुई कम्पनीलाई कारबाही फुकुवा गरेर २२ दिनपछि काम पुनः सुरु गरिएको छ । निर्माणको ठेक्का लिएका दुई चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै गत जेठ ९ मा निलम्बन गरिएको थियो ।
यी कम्पनीले निर्माण गरिरहेको सुरुङको गुणस्तर, कामको गति सबै हेरेर गत जेठ ३१ मा पुनः काम सुरु गर्न भनिएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । ‘केही समय रोकिएको दुवै प्याकेजमा काम सुरु भएको छ,’ उनले भने, ‘निर्माणको स्थलगत निरीक्षण गर्दै कामको कार्य प्रगति समीक्षा गरेपछि काम सुरु गर्ने आदेश भएको हो ।’
परामर्शदाता, निर्माण कम्पनी र आयोजना प्रमुखबीच कामको प्रगति, गुणस्तर र गतिबारे छलफल पनि गरिएको थियो । ‘जहाँ नराम्रो काम भएको छ, त्यहाँ सुधार गर्न भनियो,’ उनले भने । परामर्शदाता र निर्माण कम्पनीको बुझाइमा कहिलेकाहीं फरक हुन सक्ने भन्दै बेलाबेलामा काम रोकेर निर्माणबारे छलफल गर्ने गरिएको प्रवक्ता सिलवालको दाबी छ । ‘कामको गुणस्तर जाँच्न केही समय होल्ड गरिएको थियो,’ उनले भने ।
फास्ट ट्र्याकको परामर्शदाता योसिन इन्जिनियरिङ करर्पोरेसन–कोरिया एक्सप्रेस वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले दुवै कम्पनीलाई पत्र पठाउँदै निलम्बनबारे सूचित गरेको थियो । पत्र पठाउँदा कहिलेसम्मका लागि निलम्बन गरिएको भन्नेबारे खुलाइएको थिएन । आयोजनाको पहिलो प्याकेजमा चाइना स्टेट र दोस्रो प्याकेजमा पोली चङ्दाले काम गरिरहेका थिए ।
३ वर्षभित्र निर्माण सक्ने गरी ०७८ वैशाख ३१ मा दुवै कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएको एक वर्ष बिते पनि निर्माणमा प्रगति छैन । निर्माण कम्पनीलाई पटक–पटक मौखिक, लिखित तथा प्राविधिकहरूको बैठकमा जानकारी गराउँदासमेत कार्यसम्पादनमा सुधार गर्न चासो नदेखाएको परामर्शदाताले पठाएको पत्रमा उल्लेख थियो । निर्माण कम्पनीलाई परामर्शदाताले पठाएको पत्रमा रोजगारदाता र निर्माणकर्ताको संयुक्त सर्वेक्षणबाट सम्झौताअनुसार काम सन्तोषजनक नभएको उल्लेख गरिएको थियो । अहिले फेरि तिनै कम्पनीलाई काम अघि बढाउन भनिएको हो ।
‘जसले धेरै ठेक्का लिन्छ, काम गर्दैन, नियम मिच्छ, उसैलाई ठेक्का दिइन्छ,’ एक नेपाली निर्माण व्यवसायीले भने, ‘काम नगर्नेलाई निलम्बन गरे जस्तो पनि गरिन्छ । गुणस्तरीय काम गरेन पनि भन्ने फेरि त्यसैलाई निलम्बन फुकुवा गरेर कामको जिम्मा दिने गर्नु राम्रो होइन ।’ नेपाली निर्माण व्यवसायीलाई आयोजनाले निरुत्साहित गर्ने गरी ठेक्काको मापदण्ड बनाउने गरेको पनि उनको आरोप छ । निर्माण कम्पनीसँग दक्ष सुरुङ इन्जिनियर नभएको, कमसल काम गरिएको, डिजाइन र कार्यविधिलाई बेवास्ता गरिएको, उपकरण र उचित निर्माण सामग्रीको व्यवस्था र परिचालन नगरिएको परामर्शदाताले निलम्बन गर्नुको कारण भनी यसअघि जनाएको थियो ।
फास्ट ट्र्याकको पहिलो प्याकेजमा चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किमि सुरुङ निर्माण गर्न २१ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का पाएको हो । दोस्रो प्याकेजमा पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्न २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का लिएको हो । यसको दूरी ३.०३ किमि छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्र्याक निर्माण ०८०/८१ भित्र सम्पन्न गरिसक्नुपर्छ । तर अहिलेसम्म ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदा आयोजनाको भौतिक प्रगति १९.८३ प्रतिशत मात्र छ ।
आयोजना निर्माण सुरु भएको ५ वर्ष भइसकेको छ । तर समयमै निर्माण सकिने छाँट छैन । काममा प्रगति कम भए पनि आगामी आर्थिक वर्ष ०७९/८० का लागि फास्ट ट्र्याकमा मात्र ३० रुपैयाँ बजेट छुट्याइसकिएको छ । यसै पनि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन काम ढिलो गर्ने कम्पनीमा पर्छ । यही कम्पनीले विस्तारको ठेक्का लिएको नारायणगढ–बुटवल सडकको प्रगति पनि सुस्त छ । ३ वर्षमा जम्मा प्रगति करिब १८ प्रतिशत छ । ०७५ पुस ७ मा भएको निर्माण सम्झौताअनुसार उक्त कम्पनीले ०७९ साउन २२ भित्र काम सक्नुपर्ने उल्लेख छ । तर निर्माणको म्याद सकिन एक महिना मात्र बाँकी छँदा भौतिक प्रगति न्यून छ ।
सबैभन्दा कम आर्थिक प्रस्ताव गरेर ठेक्का हडप्ने र निर्माणमा ढिलाइ गर्दै आएको कर्पोरेसनले गत फागुनमा सिद्धबाबा सुरुङमार्गको पनि ठेक्का पाएको छ । जसको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ ।

Page 6
समाचार

गर्भपतनसम्बन्धी अधिकार अमेरिकी सर्वोच्च अदालतबाट उल्टियो

एजेन्सी– अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धीको ५० वर्ष पुरानो फैसला उल्टाइदिएको छ । अब गर्भपतनसम्बन्धी अधिकार दिने राष्ट्रिय कानुन खारेज भएको छ र हरेक राज्यले आ–आफ्नो कानुन लागू गर्न पाउनेछन् ।
सन् १९७३ को फैसलाले गर्भपतनलाई कानुनी मान्यता दिँदै यो सम्बन्धी निर्णय लिने अधिकार महिलालाई दिएको थियो । तर, पुरानो फैसला उल्ट्याउन लागिएको भनेर डेढ महिनाअघि सर्वोच्चको फैसलाको मस्यौदा बाहिरिएपछि नयाँ विवाद सिर्जना भएको थियो । चर्चा भएजस्तै फैसला आएपछि रिपब्लिकनहरूले खुसी मनाएका छन् भने डेमोक्र्याटहरू आक्रोशित छन् ।
अदालतको आदेशमा भनिएको छ, ‘गर्भपतनको अधिकार संविधानप्रदत्त होइन । गर्भपतनको नियमन गर्ने जिम्मेवारी जनताले चुनेका प्रतिनिधिको हातमा हुनुपर्छ । त्यसैले राज्यले कानुन बनाएर यसलाई नियमन गर्न सक्छन् ।’ यो आदेशसँगै अमेरिकाका राज्यहरूमा ध्रुवीकरण हुन सक्ने अनुमान छ । अब अमेरिकाका राज्यहरूले गर्भपतनलाई निषेध गर्न सक्नेछन् । २६ राज्यले यो नियम तत्काल लागू गर्न सक्ने द गार्जियनले जनाएको छ । आफ्नो चाहनाले गर्भपतन गर्न नसकेपछि सन् १९७१ मा एक महिलाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा गर्भपतनको अधिकार सरकारलाई नभएर महिलालाई नै हुनुपर्ने माग गरिएको थियो । दुई वर्षपछि फैसला गर्दै अदालतले गर्भपतनलाई कानुनी मान्यता मात्र दिएन, यसको निर्णय महिलाले गर्न पाउने आदेश दिएको थियो ।
तत्कालीन फैसलामा बच्चा जन्मनुअघि तीन महिनासम्मको भ्रूणलाई गर्भपतन गर्ने अधिकार दिइएको थियो । चौथोदेखि छैटौं महिनाको गर्भपतनका लागि केही नियम र सर्त थिए । यो फैसलालाई धार्मिक समूह तथा रिपब्लिकनहरूले रुचाएका थिएनन् । उनीहरूले हरक भ्रूणलाई जीवनको हक हुने दाबी गर्दै आएका थिए । यो विषयलाई लिएर रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूको विचार फरक–फरक थियो । सन् १९८० सम्म यो विषय त्यहाँको एक प्रमुख राजनीतिक विषय बनेको थियो । तर कानुनी रूपमा भने यो विषयले अहिले नयाँ आकार लिएको छ ।

समाचार

सीपीसीका विदेश विभाग प्रमुखद्वारा ओली र दाहालसँग भिडियो संवाद

- जगदीश्वर पाण्डे

(काठमाडौं)
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले नेपालका दुई मुख्य कम्युनिस्ट पार्टीहरू एमाले र माओवादीका अध्यक्षहरूसँग छुट्टाछुट्टै भिडियो संवाद गरेका छन् ।
लिउको टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार द्विपक्षीय कुराकानी गरेको हो । उक्त संवादका क्रममा सीपीसीका विदेश विभाग उपप्रमुख उपमन्त्री चेन झोउ पनि उपस्थित थिए । नेपालले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको केही दिनमै उत्तरी छिमेकबाट संवाद भएको हो । नेपालले सोमबार एसपीपी कार्यक्रम अघि नबढाउने निर्णय गरेको थियो, जसलाई बिहीबार बेइजिङले प्रशंसायोग्य काम भन्दै टिप्पणी गरेको थियो ।
सीपीसी विदेश विभाग प्रमुख लिउले आफ्नो टोलीसहित संवाद गरेका थिए भने माओवादी अध्यक्ष दाहालले एक्लै र ओलीले एमाले उपमहासचिव विष्णु रिमाल, इजरायलका लागि पूर्वराजदूत अन्जान शाक्यलगायत व्यक्तिलाई समावेश गरेका थिए । उक्त संवादपछि शुक्रबार बेलुकी सीपीसीको विदेश विभागद्वारा जारी सूचनाअनुसार लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकीका साथै साझा भविष्यका विकास साझेदार भएको बताएका थिए । उनले सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव सीले नेपालको ऐतिहासिक भ्रमण गरेको बताएका थिए ।
लिउले दुई देशका नेताहरूले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न र ‘बेल्ट एन्ड रोड’ को रूपरेखाअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले हिमालयपारिको मित्रतालाई नयाँ उचाइमा पुर्‍याइएको पनि उल्लेख गरेका छन् । लिउले सीपीसी, माओवादी र एमालेको समान अवधारणा र भावनाहरू रहेको उल्लेख गर्दै अन्तरपार्टी आदानप्रदानलाई सुदृढ गर्न, पार्टीहरूबीचको सहयोग प्रवर्द्धन गर्न, जनता–जनताको सम्बन्धलाई बढाउन इच्छुक रहेको संवादको दौरान बताएका थिए । उनले एकअर्काका मुख्य र प्रमुख चासोहरूलाई सम्मान गर्नुपर्ने बताए । उनले चीन–नेपाल सम्बन्धको स्वस्थ र स्थिर विकासलाई प्रवर्द्धन गर्न भूमिका खेल्ने बताए । लिउले यस वर्षको दोस्रो खण्डमा सीपीसीको २० औं राष्ट्रिय महाधिवेशन अर्को चरणमा चीनको विकासको खाका तयार गर्न आयोजना हुने तथा यसले चीन–नेपाल सम्बन्धको विकासमा नयाँ गति दिने बताए ।
उक्त संवादका दौरानमा ओली र दाहाल दुवैले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएका थिए । ओली र दाहाल दुवैको सचिवालयले उक्त कार्यक्रममा भाग लिएको जनाएका छन् । उनीहरूले कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न अनुमति नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । दुवै नेताले सीपीसीको २० औं राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको अपेक्षा र कामनासमेत गरे । संवादपछि एमाले र माओवादीले सीपीसीका प्रतिनिधिसँग दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपा र सीपीसीबीच लगातार संवाद र साझेदारी भएको थियो । पार्टीको विचारधारादेखि सरकार कसरी चलाउनेसम्मका विचार दुई पार्टीबीचमा आदानप्रदान भएको थियो । तर पछि नेकपामा विवाद आएपछि सर्वोच्च अदालतले दुई पार्टीलाई पुरानै अवस्थामा पुर्‍याइदियो । त्यसपछि सीपीसीले एमाले र माओवादीसँग छुट्टाछुट्टै संवाद र सहकार्य गरिरहेको छ । चीनले नेपालमा कम्युनिस्टहरू मिलेर एक पार्टी बन्नुपर्छ भन्ने सल्लाह दिँदै आइरहेको छ । त्यसका लागि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले तत्कालीन नेकपा र त्यसपछि कम्युनिस्ट नेताहरूलाई भेटेर सन्देश पनि दिँदै आइरहेकी छन् । तर कम्युनिस्ट पार्टीहरू मिल्नेभन्दा पनि फुट्ने काम भयो । अहिले एमाले प्रमुख प्रतिपक्षमा रहेको छ भने माओवादी केन्द्र सत्ता घटकको महत्त्वपूर्ण साझेदार हो ।

Page 8
खेलकुद

'खेलाडी संवेदनशील हुन्छन्, बुझ्न सक्नुपर्छ'

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मात्र रहेनन्, पदमकृष्ण श्रेष्ठ एन्फाका कार्यवाहक अध्यक्षसमेत भइसके । मिडियाबाट टाढै रहन चाहने उनले फुटबलका घटनाक्रम कसरी हेरिरहेका छन् त ?
- हिमेश
फाइल तस्बिर

(काठमाडौं)
नेपाली फुटबलमा धेरैपल्ट सुनाइएको एउटा प्रसंग हो, यिनी जत्तिको प्रशिक्षक बिरलै पाइन्छ होला । नेपाली खेलकुदमा शरदचन्द्र शाह सर्वेसर्वा हुँदा ठीक कारणका लागि टक्कर लिनसक्ने पदमकृष्ण श्रेष्ठलाई प्रशिक्षकका पनि प्रशिक्षक भन्ने धेरै छन् । संयोग कस्तो भने उनलाई भेट्ने अवसर जुर्‍यो, तिनै दिवंगत शाहको जीवनीमा आधारित फोटो प्रदर्शनीको उद्घाटनमा । उनलाई ‘पदम सर’ भनेर बढी चिनिन्छ । तर, सरलाई भेट्नै गाह्रो । त्यसमाथि मिडियामा छाउने भनेपछि एक कोष टाढा भाग्ने बानी ।
धन्न, यसपल्ट भने उनी केही कुरा गर्ने मनसायमा भेटिए । भर्खर अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव सकिएको छ । त्यहाँ नयाँ नेतृत्व आएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र उनको विरोधमा उत्रेका १० खेलाडीको प्रसंग अझै सेलाएको छैन ।
नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा बसेको पहिलो बैठकले ती विद्रोही खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । यी सबै घटनाक्रम नजिकबाट नियाल्ने काम ‘पदम सर’ले पनि गरिरहेका रहेछन् ।
एउटा तथ्य के हो भने उनी नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मात्र रहेनन्, उनी एन्फाका कार्यबाहक अध्यक्षसमेत भइसके । नेपाली फुटबलका यी महत्त्वपूर्ण पदमा पुग्ने उनी दुर्लभ र एक्लो उदाहरण हुन् ।
साँच्चै यी सबै घटनाक्रम उनले कसरी हेरिरहेका रहेछन् त ? कौतूहल त हुने नै भयो । उनले सबैभन्दा पहिले भनेको ठ्याक्कै यही हो, ‘राष्ट्रिय टोलीमा परेपछि खेलाडी एक प्रकारले सेलिब्रेटी भइसकेका हुन्छन्, सर्वसाधारणले उनीहरूलाई धेरै माया गरिरहेको हुन्छ, यसैक्रममा उनीहरू धेरै संवेदनशील पनि हुन थाल्छन् ।’
खेलाडीले मैदानमा त उत्तिकै परिश्रम गर्ने भयो नै । तिनको खेलबारे धेरै प्रतिक्रिया पनि आइरहेका हुन्छन् । प्रशिक्षकको भनाइ आफ्नै ठाउँमा हुन्छ, त्यसैले खेलाडी मनमनै निकै संवेदनशील हुन थाल्छन् । पदम सर सुनाउँछन्, ‘यो तथ्यलाई व्यवस्थापक र प्रशिक्षकहरूले निकै सूक्ष्म तरिकाले बुझ्नुपर्छ । धेरै मिहिनेत गर्ने खेलाडीलाई सानो कुराले पनि चित्त दुख्छ । यो उनीहरूको खेलजीवनसँगै जोडिएको हुन्छ ।’ त्यसको ठ्याक्कै अर्थ के भन्दा राष्ट्रिय खेलाडीसँग सम्बन्ध राख्दा राख्ने आफैं उत्तिकै संवेदनशील हुनुपर्छ ।
उनले भन्न चाहेको दोस्रो तथ्य हो, नेपाली फुटबलको एकमात्र स्वार्थ भनेको यही नेपालको फुटबललाई नै कसरी फाइदा हुन्छ भन्नेमै केन्द्रित हुनुपर्छ । पदम सरको भनाइ हो, ‘नेपाली फुटबलको नेतृत्व गरिरहेकाले केही पनि निर्णय गर्दा त्यसको उद्देश्य नेपाली फुटबलको विकास मात्र हुनुपर्छ । त्यसकै आधारमा निर्णय गर्ने हो । प्रशिक्षक र खेलाडीको विवादमै पनि यही गर्नुपर्छ भन्ने कुनै नियम छैन, न त हुने नै छ ।’ छोटो कुराकानीमा महसुस भयो, उनी खेलाडीप्रति आफैं उत्तिकै संवेदनशील रहेछन् ।
भन्छन्, ‘खेलाडीको अनुशासनहीनताको कुरा जहाँ पनि हुन्छ । आखिरमा खेलाडी पनि त मान्छे नै हुन् नि । खेलाडी भागेर नाइट क्लब पनि जान्छन् । खेलाडीलाई पनि आफ्नो जीवन आफ्नै ढंगले बिताउने अवसर हुनुपर्छ । यस्ता घटना नेपालमै पनि भएका छन् । यी यस्ता घटनाहरू निकै व्यावसायिक दृष्टिकोणबाट सम्हाल्नुपर्छ । खेलाडीलाई कारबाही त गर्नुपर्छ । तर कस्तो त कारबाही ? किनभने खेलाडीले राम्रो गर्दा उनीहरूलाई हामीले पुरस्कार पनि त दिन्छौं ।’

जर्ज बेस्टको उदाहरण
‘पदम सर’को तर्कमा कारबाही पनि त्यस्तो हुनुपर्छ, जसले फुटबललाई उल्टै फाइदा पुगोस् । फुटबलको मैदानमै मात्र यस्तो गरे, यस्तो हुन्छ भन्ने नियम हुन्छ, फुटबल मैदानबाहिर यस्तो नियम हुन्न । यसका लागि उनी एउटा प्रख्यात घटनालाई उदाहरणका रूपमा पेस गर्न चाहन्छन् । भन्छन्, ‘यो धेरैले रूचाइएको ‘केस स्टडी’ हो । यो उदाहरण बेलायती फुटबल खेलाडी जर्ज बेस्टलाई लिएर हो । सबैलाई थाहा छ, यी अब्बल दर्जाका खेलाडी वास्तवमै कति उत्कृष्ट थिए भनेर ।’
म्यानचेस्टर युनाइटेडको कुनै महत्त्वपूर्ण खेलअगाडि जर्ज पनि पूरा रात हराए । पछि नाइट क्लबमा भेटियो । राति नै क्लबको आपतकालीन बैठक बस्यो । अब के गर्ने त ? मुख्य प्रशिक्षकले निर्णय गरे, ‘भोलि बिहान जर्जको स्थिति कस्तो हुनेछ हेरौं । उनी हाम्रा मुख्य खेलाडी हुन् । उनी टिमकै सम्पत्ति हुन् । हार–जित नै उनको हातमा छ । खेल्न सक्ने अवस्थामा सबै उपाय लगाएर खेलाउने । खेलपछि जे जस्तो नतिजा आए पनि यिनलाई कारबाही गर्ने ।’
क्लबले अर्को निर्णय गरेको थियो, त्यतिबेलासम्म यसबारे मिडियालाई केही पनि नभन्ने । त्यसको भोलिपल्ट खेल पनि भयो, जर्ज बेस्टले दुई गोल पनि गरे र म्यानचेस्टर विजयी पनि रह्यो । जितको खुसीयालीमा ‘सेलिब्रेसन’ पनि भयो । त्यसपछि मात्र क्लबले उनीविरुद्ध अनुशासनको कारबाही चलायो । कारबाही यस्तो थियो, एक महिना ‘सी’ डिभिजनको टिममा गएर प्रशिक्षण गर्ने । बेस्ट व्यावसायिक खेलाडी थिए, उनले यो निर्णय मान्नैपर्‍यो । नमानेर सुखै थिएन ।
‘सी’ डिभिजनको टिमसँग अभ्यास गर्दा बेस्टलाई पक्कै केही बेइज्जतीको अनुभव त भएकै हुनुपर्छ । तर त्यसको फाइदा पनि भयो । त्यो ‘सी’ डिभिजनको टिमका खेलाडीले गर्वले भन्नसक्ने भए, ‘हामीले जर्ज बेस्ट जत्तिको खेलाडीसँग अभ्यास गर्न पायौं ।’
यही हो, प्रत्येक निर्णयबाट कसरी फुटबललाई फाइदा पुग्छ भन्ने कुरा । सायद केही समयअगाडि यस्तै घटनामा नेपाली राष्ट्रिय टोलीका केही खेलाडीमाथि प्रतिबन्धको सजाय नभएर अर्को विकल्प खोजिएको भए ? प्रतिबन्धको निर्णय खेलाडीप्रति अन्याय नै हो ।

प्रशिक्षक–खेलाडी विवाद
अहिले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक र खेलाडीबीच जुन विवाद भइरहेको छ, त्यसको समाधान गर्ने काम संघकै भएको पदम सर ठान्छन् । र, यसको समस्या समाधान गर्दा पनि नेपाली फुटबलको स्वार्थ सर्वोपरि हुनुपर्छ । जुन निर्णय हुन्छ, त्यसले भविष्यमा कसरी नेपाली फुटबललाई टेवा पुग्छ, त्यही सोचमा राख्नुपर्छ । सबैभन्दा ठूलो निर्णयले तय गर्ने बाटो सही हुनुपर्छ । खेलाडीलाई खेल्न नदिँदा उनको पूरा खेलजीवन नै प्रभावित हुन सक्छ ।
पदम सर प्रशिक्षकलाई बर्खास्त गर्ने वा नगर्ने कुनै ठूलो विषय नै नभएको मान्छन् । भन्छन्, ‘प्रशिक्षक आउने जाने गरिरहन्छ, अनुबन्ध सकिएपछि प्रशिक्षक स्वतः जान्छन् पनि । अहिलेको प्रशिक्षक भन्दा अर्को झन् राम्रो प्रशिक्षक पाउने सम्भावना उत्तिकै हुन्छ । कुवेती नागरिक अल्मुताइरी नेपाली टिममा रहँदा फाइदा हुन्छ भने राख्नुपर्छ । होइन, उल्टै नराम्रो हुन्छ भने निरन्तरता दिनुहुन्न । यदि प्रशिक्षक र खेलाडीबीच सम्बन्धै राम्रो हुन सक्दैन भने हाम्रा लागि खेलाडी नै प्राथमिकतामा पर्नुपर्छ ।’
उनी मान्छन्, ‘हाम्रा लागि खेलाडी नै प्रमुख सम्पत्ति हो । अहिलेको पुस्तालाई प्रतिस्थापन गर्ने अर्को पुस्ताका खेलाडी हामी नपाउन सक्छौं ।’ अल्मुताइरीबारे उनको धारणा छ, उनी पक्कै व्यावसायिक प्रशिक्षक हुन् । तर, राष्ट्रिय टिम सम्हालेको हेर्दा उनको यो पहिलो अनुभव जस्तै देखिन्छ । उनको प्रशिक्षणको ढाँचा ठिकै देखिएको छ । यद्यपि मैदानबाहिर उनको नीति राम्रो हुन सकेन । अनुभवको कमी देखियो । कसरी मिडियाको सामना गर्ने र खेलाडीलाई कसरी मिडियासामु प्रस्तुत गर्ने, यसमा उनका केही कमजोरी देखिए ।’
अझ ‘पदम सर’ के पनि मान्छन् भने नेपाली टिमको व्यवस्थापनमा कमजोरी देखियो । घटनाबारे एन्फाले आफूभित्रबाटै छानबिन गर्न सक्थ्यो । बाहिरी व्यक्ति राखेर कमिटी
बनाउन पनि आवश्यक थिएन । यो एन्फा आफू जोगिन खोजेको जस्तो देखियो, पछि समस्यामा पर्ला भनेर । अनि उनी के मान्छन् भने प्रशिक्षकको छनोट नेपाली फुटबलको आवश्यकता हुनुपर्छ, दाताको निर्णयमा होइन । उनी बारम्बार दोहोर्‍याउँछन्, एन्फाले जे–जति निर्णय गर्नुपर्छ, त्यसले नेपाली फुटबललाई फाइदा पुग्नुपर्छ ।



'पदम सर'
पदमकृष्णले सन् १९६९ मै भारतको पटियालामा एनआईएस तालिम लिएका थिए । त्यसअघि उनी फ्रेन्ड्स युनियनका खेलाडी थिए । यसैक्रममा टिमले सहिद स्मारक लिग ‘ए’ डिभिजन पनि जित्यो । दुःख के भने अब यो क्लबको अस्तित्व नै रहेन । आफ्ना समकालीन अच्युतकृष्ण खरेल नेतृत्वको नेपाली राष्ट्रिय टोलीका पनि उनी प्रशिक्षक भए ।
सन् १९७२ मा उनले फिफाको प्रशिक्षक लाइसेन्स पाए । सन् १९७० मा उनकै प्रशिक्षणमा नेपालले बंगलादेशमा आगा खाँ गोल्डकप खेलेको थियो । सन् ८० सम्म यो क्रम जारी रह्यो । पछि उनी राष्ट्रिय खेलकुद परिषदको प्रमुख प्रशिक्षक पनि भए । फुटबल मात्र होइन, उनी अन्य खेलमा पनि संलग्न रहे ।

खेलकुद

अस्मिनाको ५ विकेट, भारी वर्षा बाधक

- कान्तिपुर संवाददाता
एसीसी महिला ट्वान्टी–२० क्रिकेटमा शुक्रबार यूएईविरुद्ध बलिङ गर्नेक्रममा अस्मिना कर्माचार्य । तस्बिर सौजन्य : क्यान

(काठमाडौं)
नेपालको महिला ट्वान्टी–२० एसिया कपमा छनोट हुने सम्भावना शुक्रबार पीडादायी स्थितिमा समाप्त भएको छ । किनरारा ओभलमा यूएईविरुद्धको सेमिफाइनल खेल वर्षाले रद्द भएपछि नेपाल अभाग्यशाली साबित भयो ।
खेल रोकिएपछि समूह चरणको प्रदर्शनका आधारमा यूएई अगाडि बढ्यो । समूह ‘बी’ बाट विजेता भएर सेमिफाइनल पुगेका कारण यूएई फाइनल पुग्यो । नेपाल भने आफ्नो समूह ‘ए’ को उपविजेता भएर सेमिफाइनल पुगेको थियो ।
अब फाइनलमा यूएईको सामना मलेसियाविरुद्ध हुनेछ । अर्को सेमिफाइनलमा मलेसियाले हङकङलाई १२ रनले पराजित गरेको थियो । जितका लागि ८७ रनको लक्ष्य पाएको हङकङले ८ विकेट गुमाएर ८७ रनमात्र बनाउन सकेको थियो ।
यसअगाडि पहिलो सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ गरेको थियो । वर्षाका कारण ढिला सुरु खेलमा यूएईले १९.५ ओभरमा सबै विकेट गुमाई ८१ रन बनाएको थियो । वैष्णवी महेशले १६, एसा रोहितले १५ र छाया मगुलले १४ रन बनाए । नेपालबाट अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेकी थिइन् । यूएईलाई सस्तैमा समेट्ने क्रममा उनले ३.५ ओभरमा १० रनमात्र खर्चेर ५ विकेट लिएकी थिइन् । इन्दु बर्माले ३ र सीता राना मगरले २ विकेट लिए । वर्षाका कारण खेल आधा घण्टा ढिला सुरु भएको थियो । नेपालको इनिङ्स भने भारी वर्षाका कारण सम्भव नै भएन । नेपालका लागि समूह चरणको खेलमा हङकङविरुद्धको खेल गुमाउनु नै अन्ततः निर्णायक साबित भयो । नेपालले भुटान, कुवेत र बहराइनलाई भने पराजित गरेको थियो ।

खेलकुद

सन्तोषीलाई स्वर्ण

सन्तोषी श्रेष्ठ । राखेप

काठमाडौं (कास)– दशरथ रंगशालामा शुक्रबार सुरु ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको १५ सय मिटर दौडमा सन्तोषी श्रेष्ठ र मुकेश पाल विजेता भएका छन् । वाग्मती प्रदेशकी सन्तोषीले ४ मिनेट ४२.०८ सेकेन्डमा दौड पूरा गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (४ मिनेट ५८.२ सेकेन्ड) दोस्रा र एपीएफकी आशा रावत (५ मिनेट ०५.९ सेकेन्ड) तेस्रा भए ।
पुरुषतर्फ आर्मीका मुकेशले ३ मिनेट ५६.७ सेकेन्डमा दुरी पार गरे । एपीएफका अजित यादवले (३ मिनेट ५८.८ सेकेन्ड) र आर्मीका सुनील सुनार (४ मिनेट ०१.८) दोस्रो र तेस्रो भए ।
त्यस्तै ४०० मिटर दौडमा एपीएफकी रमिताकुमारी थारू ५९.८९ सेकेन्डबाट पहिलो भइन् । आर्मीकी निर्मला थापा (१ मिनेट ०१.०६ सेकेन्ड) दोस्रो र लुम्बिनीकी अरुणा रिजाल (१ मिनेट ०१.९ सेकेन्ड) तेस्रो भए । सोही इभेन्टको पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल विजयी भए । उनले ४८.७९ सेकेन्डमा दूरी पार गरे । आर्मीका प्रकाश दनुवार (४९.९२ सेकेन्ड) र एपीएफका नीरप्रताप महतो (५०.९० सेकेन्ड) दोस्रो र तेस्रो भए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) गरी १० टिमबाट २ सय ४० खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजक एथलेटिक्स संघले जनाएको छ ।

खेलकुद

कृतिसरा र मिलन छनोट

छोटकरी

काठमाडौं (कास)– डाइनामिक चेस एकेडेमीकी कृतिसरा अधिकारी भारतमा हुने ४४ औ चेस ओलम्पियाडलाई छनोट भएकी छन् । छनोट खेलमा कृतिसराले ६ चरण समाप्तिमा ५ अंक जोडेकी छन् । महिलातर्फ थप तीन खेलाडीको टुंगो शनिबार हुनेछ । राष्ट्रिय च्याम्पियन र शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसकेकी छन् । कृतिसराले शुक्रबार विनीता कपाली र पुनम प्रसाईंलाई पराजित गरिन् । छनोट चरणमा अनिशा न्यौपाने, विनिता, शान्ति धिमाल, सिन्दिरा जोशी र खुश्बु थापाको तीव्र प्रतिस्पर्धा छ । पुरुषमा मिलन लामा छनोट भएका छन् । मिलनले ६ चरणमा ५ अंक बटुलेका छन् । पुरुषतर्फ अब दुई जनाको टुंगो शनिबार लाग्नेछ । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरीयताका विवेक थीङ छनोट भइसकेका छन् ।

खेलकुद

नेक्ससको सेमिफाइनल यात्रा

छोटकरी

काठमाडौं (कास)– आयोजक नेक्सस क्रिकेट एकेडेमी शुक्रबार यू–१६ नेक्सस कप टी–२० क्रिकेट सिजन ५ मा सेमिफाइनल पुगेको छ । नेक्ससले आस्था कलेज झापालाई १५ रनले पराजित गरेपछि समूह ‘ए’ को विजेता हैसियत बनायो । नेक्ससले वर्षाका कारण छोट्याइएको १३ ओभरमा ८ विकेट गुमाई ७८ रन बनायो । सार्थक धितालले ३६ रन र सन्दीप विष्टले १८ रन बनाए । आस्थाका दिभ्यम एडीले ३ विकेट लिए । जवाफमा आस्था १३ ओभरमा ७ विकेट गुमाएर ६३ रनमा खुम्चियो । भूपालकुमार डंगोलले १६ रन जोडे । नेक्ससका सन्दीप र अशोक धामीले २ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका सन्दीप म्यान अफ द म्याच भए ।

खेलकुद

विराटनगरमा खुला ब्याडमिन्टन

छोटकरी

विराटनगर (कास)– विराटनगर ब्याडमिन्टन क्लबको आयोजनामा सुमन अधिकारी खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबार मेन्स सिंगलमा संखुवासभाका प्रवीन लिङ्थेप, सुनील कार्की, राजधानी युथ क्लबका सुप्रिम पन्त, भोजपुरका विशाल तामाङ, सत्यम सुब्बा, धनकुटाका विशाल पराजुली, बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र धरानका योगेश राई जित दर्ता गर्दै सेमिफाइनलमा पुगेका छन् ।  महिला सिंगलतर्फतर्फ पाँचथरकी रिना तामाङ, उदयपुर बेल्टारकी रोशी राई र बिर्तामोडकी अन्जना राई सेमिफाइनलमा पुगेका छन् । मेन्स डबल्सतर्फ रानी मिल्स एरियाका भूपेन्द्रकाजी निरौला र ताराचन्द्र राई, भोजपुरका सत्यम सुब्बा र विशाल तामाङ, विराटनगर ब्याडमिन्टन क्लबका शशि चौधरी र फुर्थेम शेर्पा, इटहरी ब्याडमिन्टन क्लबका मुनहाङ राई र लाक्पा शेर्पा तथा पाँचथर ब्याडमिन्टन क्लबका दिपेन मगर र सूर्य राईको जोडी सेमिफाइनल पुगे । प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका १ सय ५० खेलाडीले भाग लिएका छन् ।

खेलकुद

अन्नपूर्णमा चेस सुरु

छोटकरी

काठमाडौं (कास)– अन्नपूर्ण माध्यमिक विद्यालयको आयोजनमा अन्तरविद्यालय चेस शुक्रबारदेखि ज्याठास्थित विद्यालय हातामा सुरु भएको छ । कुल ३५ विद्यालयका ३ सय ५ छात्रछात्रा सहभागी प्रतियोगिता लिगका आधारमा खेलाइने छ । पहिलो दिन १४ वर्षभन्दामाथि समूहअन्तर्गत छात्रतर्फ प्रवेश लामा र पुरुषोतम सिलवाल तथा छात्रातर्फ कृति रिमालले सुरुआती अग्रता लिएका छन् । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

Page 9
कोसेली

जब सिकारी किसान बने

मानव इतिहासको लामो कालखण्ड सिकार–खोजीमुलोको यायावरी युग थियो । स्थायी बसोबास र कृषि त करिब १० हजार वर्षअघि मात्रै सुरू भएको हो । नेपालमा त त्योभन्दा धेरैपछि । कृषि युगको सुरूवात मान्छे र पृथ्वीकै इतिहासमा आमूल परिवर्तनकारी एक आविष्कार थियो ।
- सुरेश ढकाल

आफ्नो एउटा घर र केही जग्गा होस् ! केही सम्पत्ति र बैंक ब्यालेन्स ! सानो सुखी परिवार अनि ती सबैको सुरक्षा गरिदिने एउटा सबल राज्य ! आजको मान्छेको समृद्धिको काल्पनिकीमा सायद यी आधारभूत विषय हुन् । तर, मानवशास्त्री मार्सल सालिनले जुन प्राकृत समृद्ध समाजको परिभाषा गरे तिनमा माथि लेखिएका कुनै पनि सूचक थिएनन्, त्यहाँ परिवार, निजी सम्पत्ति र राज्यको अस्तित्व निर्माण भइसकेको थिएन । मानिसहरू स्वतन्त्र र स्वच्छन्द थिए । अर्थात् त्यो कृषिको आविष्कार पूर्वको समाज थियो । आज हामीले बुझे–जानेको परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति कृषिको आविष्कारपछिका परिघटना थिए ।
प्राप्त पुरातात्त्विक अवशेष र प्रमाणहरूले के संकेत गर्छन् भने कृषिकालको तुलनामा सिकारी युगमा मान्छे विरलै अनिकाल वा भोकमरीले मर्थे । कृषिमा आश्रितहरूभन्दा धेरै विविधतायुक्त थियो उनीहरूको खानाको स्रोत । र, ती खाना पोषणयुक्त पनि थिए । कृषि गर्ने मान्छेहरू त सीमित अन्नबाली वा जनावरमा भर पर्थे जीविकोपार्जनका लागि । सीमित खाद्यस्रोतमा मात्रै भर पर्नुपर्दा सुक्खा, अतिवृष्टिजस्ता प्राकृतिक प्रकोपको समेत जोखिम बढी हुन्थ्यो, तर पाषाणकालीन यायावरीहरूमा त्यस्तो जोखिम निकै न्यून हुन्थ्यो । कृषिका तुलनामा सिकारयुगका पुर्खाहरू कम समयमै बढी पोषणयुक्त खाना जुटाउन र सिकार बटुल्न सक्थे ।
हजारौं पुस्ता र लाखौं वर्ष यायावरी जीवन बिताउनेहरू किन स्थायी बसोबास र खेती किसानीतिर लागे होलान् ? प्रश्न अभिरुचिपूर्ण अवश्य छ, तर उत्तर सहज छैन । कृषिको सुरुवातका सम्भावित कारण केही उपलब्ध पुरातात्त्विक प्रमाणका आधारमा निर्मित अनुमान र अवधारणामा आधारित छन् । तर, तिनका परिणाम भने प्रस्ट र प्रत्यक्ष छन् । तिनै परिणामका आधारमा कृषिको आविष्कारलाई एक आधारभूत आविष्कार भनिएको हो, नवपाषाणकालीन क्रान्ति भनिएको हो । संक्षिप्तमा यसै कान्तिपुर ‘कोसेली’ मा गत फागुन १४ गते प्रकाशित ‘मान्छेको कथा’ मा पनि चर्चा गरिसकिएको थियो कि आजको मान्छेको काल्पनिकीमा अटेको समृद्ध समाजको जग कृषि युगको सुरुवातसँगै बनेको थियो ।

कृषि : एक आधारभूत आविष्कार
आगो, धातु, लिपि र कृषिको आविष्कार मानव इतिहासका यस्ता परिघटना हुन्, जसले अरू धेरै आविष्कार सम्भव गराए । यी आविष्कारका कथासँग मान्छेका कैयौं रोचक कथा गाँसिएका छन् । तीमध्ये एउटा थियो– मान्छेलाई खेती गर्न के विषयले बाध्य बनायो ? यो त्यति पुरानो कथा पनि होइन, यस विषयमा अनेक खोज, अनुसन्धान भएका छन्, तर आज पनि कसैले ढुक्कसँग भन्न सकेका छैनन्– आखिर कृषिको सुरुवात किन र कसरी भयो ? मानवशास्त्री, पुरातत्त्वविद्हरूका अनवरत प्रयत्न, शृंखलाबद्ध उत्खनन, अनुसन्धान र अध्ययनले केही सम्भावित कारण बताएका छन् । तर, जसरी कृषिको प्रारम्भपछिका परिणामबारे भन्न सकिन्छ यसको प्रारम्भबारे निश्चित रूपमा केही भन्न सकिएको छैन ।
लाखौं वर्ष सिकार, कन्दमूल संकलन गरेर जीवन गुजारा गरे पाषाणकालीन यायावरहरूले, जो एकै ठाउँमा केही दिनदेखि केही हप्तासम्म मात्रै बस्थे । र, तिनीहरू सिकारका लागि ढुंगे हतियार प्रयोग गर्थे । सुरुसुरुमा हतियार धारिला र प्रभावकारी थिएनन्, त्यसैले मान्छेहरू ठूला जनावर सिकार गर्न सक्दैनथे । र, मान्छेहरू साना–साना झुन्डमा मात्रै बस्थे, एकै ठाउँमा धेरै जना बस्न सक्ने सम्भावना पनि हुँदैनथ्यो । उनीहरू छिटोछिटो एक ठाउँबाट अर्को ठाउँ सरिरहन्थे, मान्छेहरू यायावर थिए ।
तर, तिनै होमो सापिएन्सले २० हजार वर्ष आसपास हतियार बनाउने सीप, कौशलमा यसरी उन्नति गर्दै गए कि अब उनीहरू धारिला, साना तर प्रभावकारी ढुंगे हतियार बनाउन सक्ने भए । मान्छेले धनुकाँण, भालाजस्ता चुच्चो र टाढाबाट पनि प्रहार गर्न सकिने हतियार प्रयोगमा ल्याए, जसको सहायताले उनीहरू ठूला जनावर पनि सिकार गर्न सक्ने भए । हतियारको चोटले घाइते भएका ठूला जनावरलाई घेरा हाल्न, खेद्न, धरापमा पार्न धेरै मान्छे चाहिने भयो । साथै ठूला जनावरको सिकारपछि ती मासु लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैनथ्यो, तुरुन्तै सक्नुपर्ने हुन्थ्यो । यसरी आवश्यकता र स्रोतको उपलब्धताले मान्छेहरू ठूला समूहमा बस्न सक्ने भए । त्यति मात्रै होइन एकै ठाउँमा तुलनात्मक रूपले लामो समय बस्न सक्ने भए । यो नवपाषाणकालीन अर्थात् ढुंगेयुगको पछिल्लो कालखण्डको कुरा थियो ।
यसै क्रममा १०–१२ हजार वर्षपहिले मान्छेहरूले पश्चिम एसिया, खाडीवरिपरिका स्थानहरूमा स्थायी बसोबास र कृषिको सुरुवात गरे । कृषि युगको सुरुवातसँग सम्बन्धित प्रारम्भिक प्रमाणहरू भने सामान्य थिए । जस्तै, स्थायी बासस्थानका अवशेषहरू, माटाका भाँडाका टुक्राहरू (यद्यपि माटाका भाँडा प्रचलनमा आउनुभन्दा पहिले पनि कृषिका केही प्रमाण फेला परेका छन्) र डढेका वनस्पतिका बीजावशेषहरू, जुन जंगली अवस्थाका भन्दा फरक थिए । त्यस्तै खाद्यान्न भण्डारण गर्न, कुट्न, पिस्न प्रयोग हुने औजारका अवशेषहरू थप प्रमाण थिए मानिसका स्थायी बसोबास र खेतीपातीका ।
सिकागो विश्वविद्यालयका मानवशास्त्री रोवर्ट जे ब्रेडउडको नेतृत्वमा बहुविधाका अनुसन्धानकर्ता संलग्न टोलीले सन् १९४० र ५० को दशकमा इराकी कुर्दिस्तानी क्षेत्रमा एक व्यवस्थित अध्ययन गरेको थियो । र, त्यसपछि खाडी क्षेत्रका अन्य भूभागमा गरिएका उत्खनन–अध्ययनको निष्कर्ष थियो– अफ्रो–युरोएसियाली संगमविन्दु, ‘मध्यपूर्व’ को खाडीक्षेत्रवरिपरि नै यायावरी जीवन त्यागी स्थायी बसोबास र कृषि (खेती तथा पशुपालन) सुरु गर्ने पहिलो मानव समुदायको उदय भएको थियो । अर्का अमेरिकी पुरातत्त्वविद् रिचार्ड म्याकनेसले मेक्सिकोको तेहुवकाना उपत्यकामा गरेको उत्खननले त्यत्तिकै रोचक मकैखेतीको सुरुवातका तथ्यहरू बाहिर ल्याए, जसले ‘नयाँ विश्व’ भनेर चिनिने अमेरिकी महादेशमा लामो अवधिदेखि कृषि युगमा प्रवेश गरेको बुझाइलाई विस्तारित गर्न सहयोग पुग्यो । र, कृषिको आविष्कारसम्बन्धी विश्वको बुझाइलाई परिष्कृत बनाउन सहयोग पुर्‍यायो ।
‘मध्यपूर्व’ का ती क्षेत्रहरू जस्तै ः इराक, इरान, जोर्डन, टर्की आदि, जहाँ कृषिका अधिकांश आदि–प्रमाण फेला परेका छन् । ती भू–भागलाई उर्वर अर्धचन्द्र अर्थात् फर्टाइल क्रेसेन्ट पनि भनियो । १० हजार वर्षपहिले मानव जातिले अन्टार्टिकाबाहेक संसारका सबै महादेशमा आफ्नो साम्राज्य विस्तार गरिसकेको थियो, तर पृथ्वीको उपरोक्त क्षेत्रमै कृषिको सुरुवात किन भयो होला ? त्यस ठाउँमा सुरुवात भएको कृषिको अभ्यास अन्य क्षेत्रका मान्छेहरूले कसरी सिके होलान् ? एक ठाउँबाट अर्को ठाउँसम्म यसरी कृषिको प्रसार कुन माध्यमबाट भयो होला ? यी मानव इतिहासका रोचक प्रश्न र प्रसंग हुन् ।



कृषियुगको सुरुवात : किन र कहाँ ?
एकभन्दा बढी व्याख्या छन् कृषिको आविष्कारबारे, तर ती कुनै पनि अन्तिम व्याख्या ठहर हुन सकेका छैनन् ।
लामो अवधिसम्म कृषि आविष्कारको प्रमुख कारक ठानिन्थ्यो– जनसंख्या वृद्धिलाई । त्यस व्याख्याअनुसार, मान्छेको संख्या यसरी बढिसकेको थियो कि लाखौं वर्ष धानेको सिकार र खोजीमुलोले उक्त बढेको जनसंख्या धान्न सक्ने अवस्थै रहेन । बढ्दो जनसंख्या धान्न केही न केही जुक्ति अनिवार्यजस्तै भइसकेको थियो । र, त्यो थियो– कृषिको आविष्कार । अमेरिकी मानवशास्त्री मार्क कोहेन थिए यस्तो जनसंख्या वृद्धिको प्राक्कल्पनाकार । तर, पुरातात्त्विक उत्खनन र अन्वेषणहरूले यो सिद्धान्त पुष्टि हुन सकेन । बरु कृषिको सुरुवातपछि जनसंख्या बढेको यथेष्ट प्रमाण फेला परे । मानवशास्त्री लेविस विनफोर्डले कृषिको सुरुवात भएको भनिएकै स्थानहरूमा गरिएको उत्खननका आधारमा भनेका थिए– वास्तवमा कृषिको सुरुवातपछि जनसंख्या ह्वात्तै बढेको थियो ।
घुमन्ते जीवनको अन्त्य र स्थायी बसोबास, अतिरिक्त उत्पादन र खाद्य सुरक्षा, महिला–पुरुष सहवासको सम्भावना बढ्नु, जन्मदर बढ्नु र शिशु मृत्युदर कम हुनु ! जनसंख्या बढ्नुका कारण यी हुन सक्थे, जुन सिकारी युग अर्थात् घुमन्ते युगमा सम्भव हुने थिएन ।
अस्ट्रेलियन पुरातत्त्वविद् गोर्डन चाइल्डको अवधारणा फरक थियो । खाडीका ती क्षेत्रहरू, जहाँ पछिल्लो हिमयुग (अनुमानित १२,००० वर्षसम्म) को अन्त्यसँगै लामो समय खडेरी पर्‍यो, सबै मानिस र जनावरहरू पानी स्रोतका छेउछाउ झुम्मिन थाले । त्यस्ता मरुउद्यानहरूमा लामो समय बिताउँदा जनावर र मान्छेबीच निकटता बढ्न गयो । र, अन्ततोगत्वा केही छनोटमा परेका जनवारलाई मान्छेले घरपालुवा बनाए । त्यसपछि मात्रै खेती सुरु भएको थियो । तर, प्रमाणहरू भन्छन्– जौ, गहुँजस्ता अन्नबालीका प्रथम प्रमाण त्यस्ता मरुद्यानवरिपरि नभई अन्यत्रै पाइएको थियो ।
ब्रेडउडको अध्ययनले के इंगित गर्‍यो भने जहाँ पहिलेदेखि नै गहुँका रैथाने प्रजाति थिए, तिनै ठाउँमा आंशिक रूपमा खेती गरिएका गहुँका प्रजाति पनि भेटिएका थिए । र, साथमा भेटिएका थिए– खल, सिलौटा, ओख्ली, ढुंगे हँसिया र भण्डारणका लागि बनाइएका थिए अन्नगारहरू । ब्रेडउडको मतअनुसार, कुनै प्रजातिको प्राकृतिक/मौलिकस्थलमै लामो समयसम्म मानिससँगको अन्तर्क्रियाको परिणामस्वरूप ती प्रजाति क्रमशः मान्छेको आवश्यकताअनुकूल हुन थाले । यसरी हेर्दा उर्वर अर्धचन्द्र वरिपरिको भू–भाग, जहाँ अन्नका रैथाने प्रजाति थिए र मान्छेले संकलन–उपभोग गर्थे सोही ठाउँमै उक्त प्रजातिलाई मान्छेले आफूअनुकूल बनाउन सके र क्रमशः ती अन्यत्र फैलिन थाले । यसरी प्रजातिको मूल थलो जहाँ हो सोही ठाउँमै तिनलाई मानिसले आफूअनुकूल बनाउन थाले । पुनरुत्पादनका लागि ती प्रजाति मानिसमा निर्भर हुन थाले । यो सिद्धान्तलाई नाभिकीयस्थलको सिद्धान्त (न्युक्लियर जोन थिएरी) भनिन्छ ।
लेविस बिनफोर्डको मत फरक थियो । उनका अनुसार, वातावरणीय परिवर्तन र बढ्दो जनसंख्याका कारण मौलिक थलोमा स्रोतसँगको सन्तुलन खलबलियो र प्रजातिहरूको मौलिक थलोभन्दा बाहिर मानसिले खेतीको जुगाड गरे । यस्तो सिद्धान्तलाई सीमान्त क्षेत्रको सिद्धान्त (एज जोन थिएरी) भनियो ।
कृषिको आविष्कारका लागि वातावरणीय प्रतिकूलता र जनसंख्या वृद्धि कारक हुन्, तर पर्याप्त थिएनन् । सायद एकभन्दा बढी प्रक्रिया संयुक्त रूपमै जिम्मेवार थिए– कृषि युगको सुरुवातका लागि । फरक–फरक स्थानमा विभिन्न प्रजातिहरूको स्वतन्त्र उद्भव भएको थियो । र, खेतीप्रणालीमा तिनको विकास पनि भएको थियो । किन र कसरी कृषिको प्रारम्भ भयो ? केही अस्पष्टता भए पनि यसका परिणाम भने प्रत्यक्ष र प्रस्ट छन् ।
यहाँ भन्नैपर्ने एउटा विषय के हो भने कृषि युगभन्दा पहिले पनि महिला र पुरुषबीच भूमिका विभाजन थियो, जुन कृषिको प्रारम्भसँगै सघन बन्यो । महिला पनि यदाकदा सिकारमा संलग्न हुन्थे भन्ने प्रमाण नभएका होइनन्, तर मूलतः पुरुषहरू सिकार गर्थे र महिला कन्दमूललगायत वनस्पतिजन्य खानाको खोजी र प्रशोधन । परिवारको पालनपोषणमा महिलाको भूमिका महत्त्वपूर्ण थियो नै । खाद्यान्नको ठूलो हिस्सा खोजीमुलोबाटै प्राप्त हुन्थ्यो, जुन मूलतः महिलाको काम थियो । महिलाहरूले नै ती खानयोग्य वनस्पतिका प्रजातिलाई नजिकबाट नियालेका थिए, बोटबिरुवाको प्रकृति बुझेका थिए । कुन वनस्पति खान हुने हो र कुन होइन भन्ने ज्ञान पनि पहिलो पटक महिलाहरूलाई नै हुन्थ्यो । सहज बुद्धिबाट मात्रै त्यो जान्न सकिन्थ्यो । उनीहरूले पुर्खाबाट जाने–बुझेका वनस्पतिको मात्रै संकलन, प्रशोधन र उपभोग गरेनन् बरु नयाँनयाँ प्रजाति परीक्षण गर्दै गए । कतिपय वनस्पति विषालु हुन्थे र ज्यान पनि जान सक्थ्यो । यसरी वनस्पतिसँगको सान्निध्यता, अनुभवजनित सामूहिक ज्ञान र ज्ञानको पुस्तान्तरणमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहन्थ्यो । वनस्पतिसँग यस्तो सान्निध्यता भएकै कारण वर्षौंदेखि संकलन गरेर खाने अन्नको जंगली प्रजातिलाई नै उनीहरूले घरपालुवा र आफूअनुकूल बनाउन सकेका हुन् । मानवशास्त्री मार्गरेट एहर्नबर्ग दावा गर्छिन् कि कृषिको सुरुवात महिलाले नै गरेका हुन् किनभने लामो समयसम्मको निकट अवलोकन र ज्ञान उनीहरूसँग नै थियो । बार्बरा रथ (सन् २००६) आफ्नो अनुसन्धानात्मक लेखमार्फत थप प्रस्ट पार्छिन् कि लैंगिक सवाल मूल प्रश्न हो, महिलाको महत्त्वपूर्ण भूमिका थियो कृषिको सुरुवातका लागि । तर, आफ्नै भूमिका र स्वच्छन्दतालाई नियन्त्रित गर्ने यस्तो निर्णय महिलाले किन गरे होलान् ?

मान्छे र पृथ्वीको फेरिएको कथा
कृषि आविष्कारले मान्छेको शारीरिक र बौद्धिक–शैली मात्रै बदलेन, उनीहरूले घरपालुवा बनाएका प्राणी–वनस्पतिको समेत आकृति, संरचना र आनुवंशिक चरित्र नै बदल्यो । खेती गर्न थालिएका प्रजाति अब जंगलीस्वरूपमा जस्तै प्राकृतिक र स्वतः अंकुरण नहुने भयो । त्यसका लागि ती प्रजातिलाई मानिसकै सहायता चाहिने भयो । यद्यपि कृषिमा अभ्यस्त हुन थालेपछि जंगली वनस्पति, पर्यावरण आदिबारे मान्छेको बृहद् ज्ञान भने खुम्चिँदै जान थाल्यो ।
कृषिको कारण प्रतिएकाइ भूमिले धेरै जनसंख्या थेग्न सक्ने भयो । अध्ययनअनुसार, सिकारी युगमा सहज जीविकोपार्जनका लागि प्रतिव्यक्ति करिब दुई वर्ग किमि भूमि आवश्यक पर्थ्यो भने अब प्रति वर्गकिमि कृषि जमिनले एक हजार मान्छेलाई पाल्न सक्ने भयो । यो अनुमान केही दशक पहिलेको थियो । जब यसरी जनसंख्याको वृद्धि र जनघनत्व दुवै बढ्न गयो, यसले पृथ्वीको धरातलीय र भौतिक स्वरूपमा समेत परिवर्तन गरायो ।
कृषिको सुरुवात र स्थायी बसोबास सह–उद्विकासी प्रक्रिया थिए । प्रतिएकाइ भूमिले धेरै जनसंख्या धान्न सक्ने भएपछि स्थायी बसोबासले ठूला बस्तीहरू र क्रमशः सहरको स्वरूप लिँदै जान थाले । उत्पादित अन्न थन्क्याउन ठूला अन्नागारहरू बनाइए । केवल बसोबासको संरचनामा मात्र होइन सामाजिक संरचना पनि बदलिन थाल्यो । र, नातागोता प्रणाली विस्तारित र जटिल हुँदै गए ।
कृषिको जटिल प्रक्रियाका लागि श्रमको विभाजन विशिष्टीकृत बन्दै गयो । तर, खाद्य सुरक्षाका कारण मानिसहरू दैनिक गुजाराका लागि भौंतारिनु पर्दैनथ्यो । परिणामतः मान्छेले कला, सीप, कौशलमा विषेशज्ञता र विशिष्टता हासिल गर्दै गए । सोहीअनुरूप प्रविधिको उन्नति पनि भयो । मनोविनोद र चित्तानन्दका लागि अनेक जात्रा–पर्व, सांस्कृतिक उपायहरू देखापर्न थाले । कृषिमा आधारित संस्कृतिको प्राक्स्वरूप र चरित्र त्यसरी निर्माण भएको थियो ।
अधीनस्थ भुखण्डको सीमांकन, श्रम विभाजन, राजनीतिक संगठनको विकास, अतिरिक्त उत्पादन, फुर्सद, वितरण र व्यापार–साटफेर अनि द्वन्द्व ! यी सबैको समुच्च परिणाम थियो, सभ्यताको उद्भव । उर्वर र उत्पादनशील भूमि, अक्सर नदी र पानीका स्रोत आसपासमा नै यस्तो सभ्यताको विकास भएको थियो ।
त्यो बलशाली नेता, जसले अधीनस्थ भूभागमा बस्ने मानिसलाई श्रम विभाजनअनुसार उत्पादनमा लगाउन सकोस्, भूभाग र अतिरिक्त उत्पादनको रक्षा गर्न सकोस् ! ऊ नै गणप्रमुख वा सामन्त अर्थात् मुख्य नेता बन्थ्यो, जुन अन्ततोगत्वा पारिवारिक विरासतको रूपमा पुस्तान्तरण हुन थाल्यो । यसरी निश्चित भू–भाग, राजनीतिक संगठन र विरासतमा प्राप्त हुने कुल परम्पराको नेतृत्वले नै अन्ततः राज्य र राजतन्त्रको उद्भव गराएको थियो । त्यसैले मानवशास्त्री लिविस हेनरी मोर्गन र पछि फ्रेडरिक एंगेल्सले सिद्धान्तकै रूपमा स्थापित गरे कि कृषि युगपछि नै निजी सम्पत्ति, परिवार र राज्यको उदय भएको हो ।
हाम्रो वाग्मती सभ्यता पनि उपत्यकाको मलिलो, उर्वरशील भूमिको परिणाम नै थियो । मध्यकालीन कला, संस्कृतिको वैभव र सबल राज्य यही उर्वर भूमिकै कारण सम्भव भएको हो । विश्वका आदि–सभ्यता यस्तै कृषिका लागि उपयुक्त नदी किनारका स्थायी बसोबासीले निर्माण गरेका थिए ।

नेपालमा कृषियुग
मध्यअसारको समय छ । नेपाली किसानहरू सबैभन्दा बढी व्यस्त छन् यतिबेला । तर, चार–पाँच हजार वर्ष मात्रै पहिले पनि उनीहरूलाई यस्तो चटारो हुँदैनथ्यो । अर्थात् उतिबेला नेपालीले कृषिलाई जीवनको मूल आधार बनाइसकेका थिएनन् । तर, कहिलेदेखि नेपालमा खेती सुरु भयो भन्ने केही अनुमानका अलावा यसको प्रामाणिक इतिहास सायद छैन ।
कृषि/पशुपालन क्रमशः पश्चिम एसियाबाट दक्षिण एसिया हुँदै नेपालसम्म आइपुगेको सहज अनुमान लगाइन्छ । भारतीय उपमहाद्वीपमा पहिलो कृषिः पशुपालन र अन्न उत्पादनको प्रमाण मेहरगढ, हाल पाकिस्तानमा भेटिएको थियो, जुन अनुमानित आठ हजार वर्ष पुरानो थियो । त्यस्तै केही प्रजातिले भने सिल्करोडको बाटो तिब्बत/चीन हुँदै नेपालको उत्तर–पूर्वी नाकाबाट यहाँको वर्तमान सरहदभित्र प्रवेश गरेको अनुमान गर्न सकिन्छ । तर, त्यो समयबारे त्यस्तो कुनै प्रस्ट पुरातात्त्विक प्रमाण भने छैन । केही पौराणिक कथाहरूका आधारमा अनुमानित कथ्य पनि नसुनिएका होइनन्, तर ती प्रमाण होइनन् । इपू ३०००–२५०० तिर दक्षिणी गंगा मैदानबाट उत्तरतिर सर्दै आएका मानव झुन्डहरूले धान खेती नेपालमा भित्र्याएको हुन सक्ने अनुमान गरिन्छ । यो अनुमान पनि करिब त्यसै अवधितिर भारतको विहार र उत्तर प्रदेशमा धान खेती सुरु भएका प्रमाणका आधारमा गरिएका हुन् । यस्ता अनुमानहरू भौगोलिक सामीप्यता र पारिस्थितिक समानताका आधारमा गरिएका हुन् । यसरी हेर्दा धान दक्षिणबाट नेपालमा प्रवेश गर्‍यो । कोदो, जवार उत्तरबाट करिब तीन हजार वर्षपहिले भित्री एसिया हुँदै व्यापारिक रेशम मार्गको बाटोबाट चीन र क्रमशः नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिन्छ । यद्यपि पुरातात्त्विक अध्ययनले के पनि देखाउँछ भने हडप्पामा चार हजार वर्षपहिले अर्थात् २००० इपूमै जवार/जुनेलोका प्रमाणहरू पाईएको छ, जुन अफ्रिकामा भेटिएको प्रमाणभन्दा पुरानो हो । नेपालमा समेत पुरातात्त्विक अन्वेषण गरेकी नर्वेली पुरातत्त्वविद् प्राध्यापक आर. हल्यान्ड (जो मेरी गुरुआमा पनि थिइन्) को अध्ययनको निचोड थियो– जंगली अवस्थामै रहेको जवार–जुनेलोको संवर्द्धन र आकृतिगत सुधार गर्दै खेती गर्न थालिएको एसियामा नै पहिले हो ।
करिब तीन हजार इपूतिर नेपालको वर्तमान सरहदभित्रको केही भागमा खेती–पशुपालनको सुरु भएको हुन सक्छ । यो खासगरी कश्मीर उपत्यकामा प्राप्त खेतीका प्रमाणहरूको समयावधि र पश्चिमबाट पूर्व सर्दै आएका मानिसहरूको झुन्डले कर्णाली/जुम्ला क्षेत्रमा खेती भित्र्याएका पनि हुन सक्छन् भन्ने अनुमानमा आधारित छ । पश्चिमबाट पूर्वतिर बसाइँ सराइका प्रमाणहरू र भौगोलिक एवं वातावरणीय सामीप्यताका कारण यस्तो अनुमान गरिएको हो । यसरी नेपालमा तीन दिशाबाट (दक्षिण, उत्तर र पश्चिम) खेती भित्रिएको हुन सक्छ । खेतीपातीसँगै त्यतिबेलाका मानिसहरूमा जंगल, नदीनाला, तालतलैया, सिमसार आदिको पनि पर्याप्त र सामूहिक ज्ञान थियो, यद्यपि सामान्यीकरण भने नमिल्न सक्छ । रैथाने प्रजाति र स्वतन्त्र विकासका प्रमाण पनि होलान् । तर, ती उपलब्ध प्रमाण उर्वर खाडीक्षेत्रमा सुरु भएर अन्यत्र प्रसार भयो भन्नेभन्दा प्राचीन छैनन् ।
आलु, मकैजस्ता उत्तर अमेरिकी भूखण्डबाट प्रसारित बाली भने नेपालमा धेरै पछि मात्रै भित्रिएका थिए । भास्को डिगाँमाले सन् १४९८ मा भारतसम्मको व्यापारिक मार्ग पत्ता लगाइसकेपछि १६औं–१७औं शताब्दीतिर मात्रै पोर्तुगालीहरूले भारतमा मकै, आलु परिचित गराएका थिए । त्यसपछि क्रमशः नेपालमा आएको हुन सक्ने सहज अनुमान हो ।

कृषि अर्थात् मान्छेको कथा
कृषि आविष्कारको कथा खासमा मान्छेको कथा हो ः जीवन निर्वाहको परम्परागत व्यवहार परिवर्तनको अपरम्परागत निर्णयको कथा । आज हामी बाँचिरहेको विश्व, समय, संस्कृति र वैचारिकीको सूत्रपात १० हजार वर्षअघि कृषिको आविष्कारसँगै भइसकेको थियो । यो संसार बदल्ने परिघटना भूगोलको सबै भागमा एकै पटक भएको भने अवश्य थिएन । आज हामीले खेती गर्ने र हाम्रो भान्छामा पाक्ने प्रमुख खाद्यान्नको मौलिक भूमि विभिन्न महादेश थिए । र, केही हजार वर्षको अन्तरालमा मूलतः मानिसको बसाइँ सराइको प्रक्रियामार्फत त्यो हामीसम्म आइपुगेको थियो । नेपालमा बालीनाली र पशुपालनको सुरुवातबारे पर्याप्त अनुसन्धान हुनै सकेको छैन । तसर्थ हामीसँग सीमित ज्ञान मात्रै छ । अर्थात् हामीलाई केही हजार वर्षपहिलेको हाम्रै इतिहासको पनि ज्ञान छैन ।

Page 10
कोसेली

मैले प्रेम गरेका रूखहरू

जुन रुखको छायामुनि बसेर म काव्य चिन्तन गर्थें, त्यो रुख जोगियो । मैले प्रेम गर्ने अन्य धेरै रुख जोगिए । अहिले सल्लेरीमा आकाश छेड्लान्झैं उभिएका ती रुख देख्दा आगलागी र संघर्षका दिन याद आउँछन् ।
- भूपिन

यसपालि गाउँमा गर्मी बिदा बिताउँदा विगतमा भन्दा बढी नै व्यस्त भएँ घुमाइमा । आमाले भर्खरै छोडिजानुभएको घर, यस आलो पीडाबाट मुक्तिका लागि पनि मनले कल्पिनेबित्तिकै म निस्किहाल्थेँ घरबाट । प्रकृति र चराहरूको पृष्ठ संगीतमा म सकेसम्म हिँडिरहन्थेँ ।
लेखक रोशन शेरचनले मैदारो ट्रेल नाम दिएको आफ्नै जन्मथलोमा जता जान्थेँ, मलाई पुराना सुखदुःखका कैयन् स्मृति कथाहरूले घेर्न थाल्थे । कतिपय आमाबाबासँग जोडिएका । कतिपय आफन्त र दौतरीहरूसँग जोडिएका ।
मेरो गाउँ आम नेपाली गाउँझैं चौतारीहरूको गाउँ हो । वरपीपलका जोडी रूखहरूमुनि पसिना ओबाउने किसान र श्रमिकहरूको गाउँ हो । गाउँका पुराना चौतारीहरू देखेर मन प्रायः खिन्न भयो । बिरानिएका चौतारीमा वरपीपलका दर्जनौं ठुटे रूखहरू ठिंग उभिएका दृश्यले मन उजाड पारिरह्यो । ती रूखहरू विकासका नाममा बलिवेदी चढेका जस्ता लाग्थे । रूखहरूको निर्मम हत्यासँगै गाउँको हरियो इतिहास र संस्कृति विरूप भएको बोध भइरह्यो । संरक्षण कविता आन्दोलनको एक सामान्य अभियानकर्ता म, विगत दुई दशकदेखि प्रकृति संरक्षणसहितको विकास मेरो पक्षधरता हो । गाउँमा प्रकृति विनाशको जगमा उभिएको विकास आएछ । हरेक लेखकको मनमा प्रिय पुस्तक, प्रिय पात्र, प्रिय संगीत, प्रिय सहर, प्रिय मानिस र प्रिय कलाजस्तै प्रिय रूखहरू पनि अवश्य हुन्छन् । रूखहरूको विम्बले नै लेखनलाई हरियो बनाउन मद्दत गर्छ ।
आज मलाई प्रिय रूखहरूबारे लेख्न मन लागेको छ ।

खोलाखेत र शमीको रूख
खोलाले पालेका खेतहरूले हामीलाई पाले । जहाँजहाँ खेत र खेतको छेउ वा बीचतिर बगिरहेका खोलाहरू देख्छु म गहिरो आनन्द महसुस गर्छु । यस्तै एक खोलाको किनारमा हाम्रो खेत छ, खोलाखेत । करिब तीन दशकपछि माल्दाइसँग खोलाखेत पुगेँ । बितेका तीस वर्षहरू म धेरै ठाउँ पुगेँ, तर खोलाखेत पुगिनँ । सम्झनाहरूमा, सोचहरूमा र कतिपय सपनामा म बारम्बार पुगिरहन्थेँ, खोलाखेत । खोलाखेत, जहाँ मेरा बाआमाले पसिनाको बीउ रोप्नुभयो, जहाँको माटामा फलेका बाआमाको पसिना खाएर हामी पालियौं ।
खेतको बीचबाट एडीबीको सडक कालोपत्रे भएर कुदेछ । कल्पनातीत परिवर्तन थियो त्यो । तियारी खोलाबाट खेततिर लाग्दा महसुस हुने ओस र लेउ मिसिएको खोलाको सुगन्ध महसुस गरेर आनन्दको अनुभूति गरेँ । दुःखको कुरा, खेतवरिपरि बाल्यकालमा पौडिएका दहहरू हराएछन्, कुलाहरू पुरिएछन् ।
धान रोप्ने समयमा आमाले बनाउनुभएको खाजा खाने चिप्लेढुंगामा बसेर पूर्वजहरूले गुलजार पारेको खेत नियाल्दा मन भावुकताले भरियो । उहिलेउहिले पसिनाका बुँद चुहिने खेतमा यसपालि आँसुका बुँदहरू चुहिए ।
थकान बिसाउने चिप्लेढुंगाबाट वरिपरि नियालेँ, अहिले त खेतमा केवल सिरु उम्रिएको रहेछ ।
मैले खेतमा बाल्यकालका मेरा प्रिय रूखहरू खोजेँ । केही रूखहरू हराएछन् । खलेगरामा उभिएको खन्युको रूख हराएछ, पानीटारको टुनीको रूख हराएछ, धापेखोला छेउको बाँसघारी हराएछ । खेतको उपल्लो खण्डस्थित ढुंगैढुंगाको ढाडमा अग्लिएको क्यामानुको रूख भने ढकमक्क फुलिरहेको थियो । त्यसलाई देखेर मनमा आनन्दको सञ्चार भयो । त्यो रूखमा फलेका स्वादिष्ट क्यामानु खाएर बिताएको स्वर्णिम बाल्यकाल सम्झनामा आयो । ब्याडेगराको बान्नोमा बडहरका रूखहरू अझै उभिएका थिए । ती रूखको हाँगामा बसेर समाहा चलेका खेतहरू हेर्दै युधीर थापा र प्रकाश कोविद पढ्थेँ । पछि ओशो, गोर्की, याङ मो र टोल्सटोय पढ्ने भएँ । स्वादिला बडहरका फलहरूले चिप्लेढुंगासम्मको खेत बसाउँथ्यो ।
धापेखोला र तियारी खोलाको कारण हरदम ओसिलो माटो बसाइरहने मेरा बालसखाहरूको गाउँ अर्माहा बदलिएछ । उनीहरूसँगै मती खोलामा हत्केकी खेलेर माछा पक्रिन्थेँ, उनीहरूले चौरको लाप्छा काटेर बनाएका दहहरूमा पौडिन्थेँ । कालोपत्रे सडकले गाउँ त बदलेछ, तर त्यसले बाल्यकालमा प्रेम गरेका कैयन् रूख र चौतारीहरू भत्काएछ । खेतबाट फर्किंदा बडहरे हुँदै कुमाल खोला झर्‍यौं, आमाले पानी बोक्ने पँधेरोबाट थोपा पानी झरिरहेको थिएन । त्यो पँधेरो आमाको मृत्युपछि सुक्खा भएको हाम्रो मनजस्तै थियो ।
पुरानो बाटो हुँदै सिग्देलको घरअघिको चौतारी उक्लियौं । म शमीको रूख हेर्न उत्सुक थिएँ । अचम्म, न त्यहाँ चौतारोको कुनै अवशेष बाँकी थियो, न त्यो आकाश ढाक्ने विशाल शमीको रूख । त्यो शीतल रूखको छहारीमा पञ्चायत बस्थ्यो, छलफलहरू हुन्थे । कुमाल दाजुभाइका पूर्वजले रोपेको त्यो विशाल शमीको रूख गाउँको सम्पदा थियो, डोजर जोतेर फराकिलो पारिएको बाटोले त्यसको निर्मम हत्या गरिदिएछ । वरिपरि अवलोकन गरेँ, मनमनले नापेँ । ठहर गरेँ, त्यसले बाटाको फैलावटमा पनि कुनै व्यवधान खडा गर्दैनथ्यो । साथी हिरोसले भने, ‘षड्यन्त्र गरेर त्यस ऐतिहासिक रूख लडाए पापीहरूले । आफ्नो पुर्खाले लगाएको त्यस विशाल रूख मास्न पाइन्न भनेर कुमाल दाजुभाइले विरोध गरेका थिए, तर उनीहरूलाई रूख काटेबापत आउने पैसा गणेश माविका लागि दान दिइने भएकाले पुण्य मिल्छ भनेर ललाइफकाइ गरियो ।’
कुमालटारीमा हाम्रो तीन हल मेलो खेत थियो । खेत जाँदा–आउँदा भारी बिसाउने त्यो शीतल रूखसँगै मेरा र धेरै गाउँलेका कैयन् प्रियक्षणहरू अब सम्झनामा मात्र सीमित भएका थिए । शमीको रूख वर्तमानमा थिएन, इतिहास बनिसकेको थियो । शमीको हरियाली फैलिने त्यो स्थलवरिपरि केवल उदासी फैलिरहेझैं लाग्यो मलाई । समयमै त्यस विशाल रूखको कुनै तस्बिर खिच्ने बुद्धि नआएको थकथकी बोकेर घर फर्किएँ ।

पहिलो रूखप्रेम
मेरो पहिलो रूखप्रेम कसरी कहाँबाट सुरु भयो ?
यस विषयमा सोच्दै जाँदा मेरा आँखामा एक कलिलो बिरुवा नाच्न थाल्छ । त्योबेला म चार या पाँच कक्षामा पढ्थेँ । उमेरमा लगभग दस–एघार वर्षजतिको । सानो उमेर, त्यस सानो रूखसँगको माया भने विशाल थियो ।
टुनी, बकैना, गिँदरी, कुट्मिरो, चिलाउनी केको बिरुवा थियो त्यो ? म किटेर भन्न सक्दिनँ । पातको धूमिल सम्झनाका आधारमा कुट्मिरो हुन सक्ने सम्भावना बढी देख्छु । पाँच–छ पातको त्यो बिरुवा घरको दक्षिण दिशाको फूलबारीमा मस्त हुर्किरहेको थियो । त्यस बिरुवाले मलाई मोहनी नै लगाएको थियो । म स्कुल जानुअघि वा फर्किएपछि फूलबारीमा एक्लै खेल्न जान्थेँ र त्यो बिरुवा नजिक पुगेर त्यसलाई स्नेहले मुसार्थें । त्यो बिरुवा हलक्क बढेर छिट्टै अरू रूखहरूझैं अग्लो होस् भन्ने मेरो उत्कट चाहना थियो । प्रशस्त रासायनिक मल राख्ने चलन थियो गाउँमा ।
उत्साहित हुँदै मैले सकीनसकी बिरुवाको जरावरिपरि माटो खनेर एकेक अञ्जुली युरिया र पोटास त्यसमा राखिदिएँ । माटाले छोपेँ । घरबाट लगेर जरामा पानी पनि राखिदिएँ । ठूलो उत्कण्ठाले दिनदिनै लोटामा पानी लिएर म त्यो बिरुवा नजिक पुग्थेँ । म त्यो बिरुवा रफ्तारमा हुर्किएको अवलोकन गर्न उत्तेजित थिएँ ।
दुर्भाग्य त्यस अनाम बिरुवा केही दिनमा पहेलिँदै गयो, पातहरू भुइँमा झरे र सिद्राझैं सुकेर त्यसको मृत्यु भयो । निकै दुःखी भएँ म । मलाई के थाहा, कलिलो बिरुवामा धेरै रासायनिक मलको प्रयोग यति बिखालु हुन्छ भनेर । यसरी पहिलो पटक प्रेम गरेको बिरुवाको जीवनलीला समाप्त गरिदिएको घटनाको साक्षी हुनुपरेपछि मलाई लामो समय अपराधबोध भइरह्यो ।

हरित प्रेम
गर्मी याममा बिहानी कक्षाहरू सुरु भएपछि हामी निकै खुसी हुन्थ्यौं । स्कुलबाट फर्किएर खाना खाएपछि हतारहतार गाईगोरु खेद्दै कुकुरगाडे जाँदा खुट्टा त जमिनमै हुन्थ्यो, मन भने खुसीको आकाशमा उडिरहेको हुन्थ्यो । मसिनो घाँस भएको पाटनमा बस्तुहरू चुरुप्चुरुप् घाँस तान्न व्यस्त हुन्थे ।प्रायः गाई गोठालाहरू विश्रामका लागि ‘हाम्रो चौतारी’ नै रोज्थे । हजुरबा नन्दलाल खड्काले सार्नुभएका वरपीपलको चौतारी भएकाले त्यसलाई हामी ‘हाम्रो चौतारी’ भन्थ्यौं ।
चौतारी निकै फराकिलो थियो, जहाँ वरपीपलका रूखको हरियो प्रेम थियो । शीतल उस्तै । त्यसमा राखिएका फराकिला छपनीहरूमा खरीले केरेर केटाहरू बाघचाल खेल्थ्यौं । केटीहरू भने पीपलको रूखमुनि गट्टा खेल्नमा रुचि राख्थे । आकाश ढाकेर बढेका ती जोडी रूखका हाँगामा बस्ने मैना, काग, चिबे र अन्य अनाम चराका अनवरत चिर्बिराहट चलिरहन्थे । कहिलेकाहीँ गजा खान आउने बाँदरहरू जिस्क्याउँदै वरको हाँगामा लटरम्म फलेका बैजनी फलको बाहिरी छाला कोपरेर हामी पनि भोक
मेट्थ्यौं । डन्डीबियो, दौड, लङजम्प र ठाडी मूल बनाउने खेल खेल्दा खेल्दा प्यास लाग्थ्यो, तर गौचरनमा पिउने पानीको ठूलो अभाव थियो । मर्ने गरी प्यास लागेका बेला चट्टानको प्वालमा थिग्रिएको पानी वरपीपलको पातमा उबाएर पिउनुपर्थ्यो । पानीमा अंग्रेजी अक्षर एस आकारका काला लामा कीराहरू तलमाथि पौडिरहेका हुन्थे ।
एक बिहान चौतारीमा पुगेँ । ‘हाम्रो चौतारी’ को हरियो इतिहासको हत्या भइसकेको रहेछ ।
आधुनिक आराले निर्ममतापूर्वक शिर र हाँगाहरू काटिएका ती विशाल वरपीपलका रूखहरू ठाडै सुकेछन् । ती रूखहरूमा प्राण थिएन । रूखको देहबाट चर्चरी छाला उप्किएर भित्रको कठोर काठ उदांगो देखिने क्रममा थियो । वरको फेदमा हजुरबाले गाडेको शिलालेखका अस्पष्ट अक्षरहरू पढ्न खोज्दा मेरा आँखाहरू रसाइरहेका थिए ।
नेपाल पोलिटेक्निकमा पढ्ने छात्राका लागि बनेको आवासीय भवनका कारण चौतारीको यो दुर्दशा भएको थियो । शिक्षा लिने विद्यार्थीहरूका लागि आवासीय भवन बन्नु निकै खुसीको कुरा थियो । जस्तो ः भवनको छतमा र कोठामा बसेर चराहरूझैं चिर्बिराइरहेका नानीहरू देखेपछि म पनि निकै खुसी भएको थिएँ । भवनलाई क्षति पुर्‍याउने कुनै सम्भावना नभएका ती वरपिपलका रूखहरू किन काटिए ? यसको जवाफ मैले कोसँग सोध्नु ? रूखको हत्यारा ठेकेदार गाउँ छोडेर अरू गाउँको हरियो सभ्यता मास्न कतै गइसकेको थियो ।
घरमा आएर दलबहादुर काका र दुर्गा दाइसँग ‘तपाईंहरूले किन रूखहरू काट्न दिनुभएको ?’ भनी दुखेसो पोखेँ । ‘प्रकृति, संस्कृति र सम्पदाहरू मासेर गरिएको विकास विनाश बराबर हो’ भनेर भँडास पोखेँ, तर निकै ढिलो भइसकेको थियो ।
उहाँहरू पनि पूर्वजको अमूल्य चिनो मासिएकामा उदास हुनुहुन्थ्यो । गाउँलेहरूका नजरमा विकासको बाधक कहलाइने मनोगत डर रहेछ उहाँहरूमा । काकाले दुःखसाथ भन्नुभयो, ‘सीडीओसम्म कुरा पुर्‍याएको हो छोरा, सीडीओले त त्यसरी रूख काट्न पाइन्न नदिनुस्’ भनेका थिए । तर, इन्जिनियरले पटक्कै मानेन । इन्जिनियरले नमानेपछि ठेकेदारले मानेन ।’
मनमनै सोचेँ, मानिस र प्रकृतिका दुःखका हत्याराहरू भए पो जीवन समृद्ध बन्छ, यहाँ त विकासका नाममा रूखका हत्याराहरूको बिगबिगी छ । कोही गिट्टी–बालुवाका निहुँमा नदीको रगत पिइरहेछन्, कोही सडक र भवनको निहुँमा रूखको प्राण उडाइरहेछन् ।  काकाले मेरो मनोदशा राम्ररी पढ्नुभएको जस्तो लाग्यो र त्यस रूखसँग जोडिएको हजुरबाको भाग्यवादी कथा सुनाउन थाल्नुभयो ।
हजुरबाको पहिलो बिहे भएको रहेछ, रोका थरकी युवतीसँग । बाह्र वर्षसम्म कुनै जायजन्म नभएपछि हजुरबा पाङको रामकान्त पण्डितसँग हात हेराउन जाँदा पण्डितले सन्तानप्राप्तिका लागि वरपीपल रोप्नुपर्ने सल्लाह दिएपछि हजुरबाले ती रूखहरू रोप्नुभएको रहेछ । वरपीपल रोपेपछि जेठाबा जन्मिनुभएको रहेछ । तीन सन्तान जन्माएपछि हजुरआमाको देहान्त भएछ र हजुरबाले हाम्री हजुरआमासँग दोस्रो वैवाहिक सम्बन्ध गाँस्नुभएको रहेछ ।

भोगटेको दानी रूख
धरतीको महानता हो दानी हुनु । यसले आफूमा आश्रित हर प्राणीहरूलाई प्राणदानसमेत दिन्छ । रूखले दिने हावा, पानी, काठ र फलमा नै चराचर जगत् आश्रित छ । तर, हामी उसैको प्राणहत्याका लागि प्रतिस्पर्धा गरिरहेछौं ।
गाउँमा जन्मे–हुर्केकाले मलाई बारम्बार दानी पृथ्वीका दानी रूखहरूको याद आइरहन्छ । ती दानी रूखहरूमध्ये एक थियो, आफ्नै घरआँगनको भोगटेको रूख । चरम दुःखको कुरा, त्यस रूखको हत्यारा अरू कोही थिएन, हामी आफैं थियौं ।
बारीमा कोदोको नल काट्ने बेला, खेतबाट धानका बिटा बोक्ने बेला, कोदो ठटाउने वा धान झाँट्ने बेला र दाइँ हालेर टौवामा पराल थन्क्याउने बेला भोगटेको अत्यधिक माग हुन्थ्यो । आँगनमा गुन्द्रीको तानमा हतासो ठोक्दाठोक्दा थाकेका आमा–भाउजूहरूले भोगटेको रूख सम्झिनुहुन्थ्यो । हिउँदका रातहरूमा बाबियाका जेउरी बुन्न हाम्रो घरमा जम्मा हुँदा पिरोमा भोगटे साँधेर जिब्रो पड्काउँदै खाँदाको स्वाद कतिपय चेली र भाउजूहरूले अझै भुलेका छैनन् । बाआमाले भोगटे माग्न आउने सबैलाई निःशुल्क वितरण गर्नुहुन्थ्यो । हाम्रो घरबाट दिइने सबैभन्दा किमती कोसेली हुन्थ्यो यही भोगटे । टाढाटाढाका चेलीहरूले झोलामा राखेर घर लैजान्थे लाल गफ्फु ।
स्थिति प्रतिकूल बनिदियो, नयाँ घर बनाउँदा त्यसलाई नढाली उपाय लागेन । कुनै विकल्प सुझेन ।
त्यो रूख चौबीस सालतिर अर्माह बेलबोटेको घरबाट ल्याएर ठूल्दाइले लगाउनुभएको रहेछ । त्यो रूख हाम्रो घरको शोभा र सौन्दर्य थियो । पहिचान थियो । अहिले नयाँ घरको अगाडि त्यसको सन्तान हुर्किरहेको त देख्छु । तर, मलाई सधैं भोगटेको त्यो रूखबिनाको घर अत्यन्त अधुरो अपुरो लागिरहन्छ ।

डिलको चौतारी र एक्लो वर
जसले रोपेका थिए त्यो वरको रूख, उनैको लास राखिएको थियो रूखको ठीक तल । किरियापुत्रीहरू लासको वरिपरि उदासीपूर्वक बसिरहेका थिए । चौध–पन्ध्र वर्षको म पहिलो पटक मलामी गएको त्यस क्षण सम्झनामा दोहोरिइरहन्छ । अहिले जब त्यस बिरानो रूख तल चौतारीमा बसेर सोच्छु, त्यो दिन सायद आफ्नो संरक्षकको मृत्युमा शोक मनाइरहेको हुँदो हो भीरसम्मै हाँगा फिँजाएर उभिएको त्यस वरको रूखले ।
पहलसिँह घर्ती जिबाको लास थियो त्यो, जो निकै वृद्ध भएपछि बित्नुभएको थियो ।
गाउँलेहरूका लागि त्यो रूख र चौतारी दुई कारण महत्त्वपूर्ण थिए । पहिलो, बौर भनिने कालीगण्डकीको किनारतिरबाट घाँस बोकेर फर्किंदा कठिन उकालोको पहिलो बिसौनी त्यही थियो । प्यासले छटपटाइरहेका घँसियाहरूले त्यहीँ आएर घटघट पानी पिई प्यास शान्त पार्थे र बाँकी छोटो उकालोका लागि शक्ति सञ्चय गर्थे । त्यस चौतारीमा पानी पुर्‍याउने पुण्य कार्य भने समाजसेवी दलबहादुर खत्री काकाले गर्नुभएको थियो । उहाँको व्यक्तिगत खर्चमा चौतारी नजिक ट्यांकी बनेको र धारा खसेको क्षण मेरो हृदयमा स्पष्ट अंकित छ । बिहान घसियाहरूको मेलै लाग्थ्यो चौतारीमा । भेटघाट, सन्चोबिसन्चो, तात्ताता घटनाहरूको चर्चा र ठट्टा चल्थ्यो । ताजा घाँसको गन्ध फैलिएको चौतारीमा बैंसालु जोडीका खासखुस प्रेमालाप चल्थे । भारी बोकेर जोडीहरू उकालो लागेपछि भने उनीहरूकै कुरा काटिन्थ्यो । मैले पनि कहिलेकाहीँ त्यस चौतारीमा भारी बिसाएर गाउँको घसिया सौन्दर्य बोध गर्ने अवसर पाएको छु । त्यो बेला दुःखी बनाउने ती दिन सम्झेर रत्तीभर दुःख लाग्दैन अचेल । बरु समाज, जीवन र मानिसका संघर्ष बुझ्न पाएकामा गर्वको अनुभूति हुन्छ ।
दोस्रो कारणले भने उदासी वृद्धि गरिदिन्छ । लासलाई घाटतिर ओराल्दा त्यस चौतारीमा अनिवार्य बिसाउने चलन थियो । कोरोनाका कारण आमाको लास बोकेर घाटसम्म पुग्न नपाए पनि बाको लास बोकेर त्यस रूख तल पुगेको छु म पनि । रूख तल केही मृत्युकर्म सम्पन्न गरेपछि मात्र गोपाङ ओरालिन्थ्यो लास । जलाएर फर्किएपछि त्यही रूखको मुन्तिर बसेर आफन्तहरू शोकमा हराउँथे अनि रुन्थे ।

सल्लेरी र डढेलो
पाटेभीरमा अचानक आगलागी भएको हल्ला सुनेपछि दीपिन र म बतासिँदै सल्लेरी पुग्यौं । सुकेको खर भएको पाटेभीरमा आगोको लामो लहरो थियो र त्यसबाट निस्किएको धूवाँले सल्लेरी ढाकिरहेको थियो । गाउँलेहरूलाई झैं मलाई चिन्ता थियो, सल्लाका रूखहरूको । विशेषगरी त्यो रूखको, जसको फेदमा बसेर मैले कैयन् कविता लेखेको छु । कैयन् पुस्तक पढेको छु । चिन्तन र अन्तरविमर्श गरेको छु ।
अपराह्नको समय । गाउँलेहरू दौडिँदै आए । चूडामणि र सकस दाइ पनि आउनुभयो । नजिकमा आगो निभाउने पानीको कुनै स्रोत थिएन । हामीहरूले आवश्यक ठाउँमा सल्लिपिरलको बाक्लो कार्पेट बीचका पात सोहोरेर खाली बाटो बनाइदियौं । यस विधिले तल डिलका पात त जल्थे, तर माथिमाथि आगो सर्ने सम्भावना कम हुन सक्थ्यो ।
आगो बौलाउँदै सल्लेरीको डिल उक्लियो र हाम्रो पहुँचबाहिरका भीरका रूखहरू डढाउन थाल्यो । सल्लेरीभरि चट्चट् आवाज आइरहेको थियो । विशालकाय आगोको लहर देखेर मेरो मन आत्तिन थाल्यो । त्यसमाथि सल्लेरीमा रात पनि झरिदियो । युवकहरूले सल्लाका हाँगा भाँचेर ती हाँगाले फुर्तीसाथ सल्लिपिरलमा दन्किरहेको आगो ठटाउन थाले । मैले पनि त्यसै गरेँ । विधिको प्रभावकारिता थाहा पाएपछि म निकै खुसी भएँ । लामो न लामो सल्लेरीमा यसरी आगोसँग जुध्दा रात निकै छिप्पिइसकेको थियो । आगोले डढाएका रूखहरू अग्लो भीरबाट लड्दा ती नजिकै आकाशमा खसेका डरलाग्दा उल्काजस्ता देखिन्थेँ ।
सल्लेरी जोगियो । जुन रूखको छायामुनि बसेर म काव्य चिन्तन गर्थें, त्यो रूख पनि जोगियो । मैले प्रेम गर्ने अन्य धेरै रूखहरू जोगिए । अहिले सल्लेरीमा आकाश छेड्लान्झैं गरी उभिएका ती रूखहरू देख्दा आगलागी र संघर्षका ती क्षणहरू याद आउँछन् ।

हाँगाको जराले टेकेको रूख
मेरो जीवनसँग प्रिय नाता गाँसिएका वा मेरो जीवनले अनमोल सम्बन्ध गाँसेका रूखहरूको कथा सम्झिँदै गाउँमा दिव्य दस दिन बिताएर चितवन फर्किएँ । गर्मी बिदाका केही दिन अझै बाँकी थिए ।
एक बिहान सधैंझैं कवि ईश्वर कँडेलले फोन गरेर चिया पिउन बोलाए । म अस्पताल चोकबाट कला बहिनीको चिया स्टेसन मोडिनै लागेको थिएँ, सडकमा लम्पसार लडेको वरको रूख देखेर झसंग भएँ । केही दिनअघि चितवनमा अचानक आएको शक्तिशाली हुरीले त्यस रूखलाई पनि जरैसहित लडाइदिएछ । त्यो बेला म गाउँमै थिएँ । त्यो चितवनमा मैले सर्वाधिक प्रेम गर्ने रूख थियो । जैविक विविधताले सम्पन्न थियो रूख । सेतो बकुल्लालगायत धेरै चराहरूको प्यारो बासस्थान थियो ।
करिब एक दशक अघिसम्म यस रूखमुन्तिर खाजा पसल थियो, रिमाल बाजेको पान पसल थियो । ईश्वर र म क्याम्पस छुटेपछि रिमाल भाउजूले बनाएको चिया पिउन यहीँ भेटिन्थ्यौं । एक बिहान पान खान आएका क्याम्पस सहकर्मी कृष्ण भुसाल र रिमाल बाजेको पानको रस लागेको नोटसम्बन्धी रोचक कुराकानी सुनेर मैले कविता लेखेको थिएँ– एउटा नोटको जीवनी । मैले सडकछेउमा बाइक पार्क गरेँ र लडेको रूखलाई हेरिरहेँ । रूखको विशाल हाँगामा चढेर कोही मानिस बिजुली आरा चलाइरहेको थियो ।
मैले अन्तिम सम्झनाका लागि त्यस रूखका केही तस्बिर र भिडियो खिचेँ । मलाई थाहा छ, अल्जाइमर भएन भने यिनै सम्झनाहरू हुनेछन् मेरा बुढेसकालका असली सहारा ।

कोसेली

जिल खानुका विरुद्ध

- केशव सिलवाल

एक्काइसौं शताब्दीको प्रभासमा हाम्रो सनातनी समाज र साँघुरो मनोदशालाई खोतल्दै आइपुगेकी छन्– शान्ति प्रियवन्दना । उनको कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ ले वर्तमान समाज र समयलाई अग्रभागमा राखेर हामीतर्फ प्रश्नको झटारो हानेको छ । एक्काइसौं शताब्दीलाई कसरी एक्काइसौं शताब्दी बनाउने, त्यो मूलमन्त्रमा शान्तिका शब्दहरू संकेन्द्रित छन् ।
एकातिर धामी–झाँक्री, बोक्सी, छुवाछुत र विभेदलाई पिठ्युँमा बोकेर हिँडिरहेको हाम्रो समाज छ, अर्कोतर्फ विज्ञान–प्रविधि र सूचना सञ्चारको चम्किलो एक्काइसौं शताब्दी छ । कस्तो अनौठो विरोधाभास ? कस्तो अचम्म ? अनि हामी यही विभेदी समाजको सदस्य एक्काइसौं शताब्दी आयो भन्दै ठमेलतिर घुम्न निस्कन्छौं, पबमा रमाउँछौं, सपिङ मल र क्यूएफएक्सतिर रल्लिन्छौं । दिमाग र व्यवहारमा बाह्रौं शताब्दी बोकेर एक्काइसौं शताब्दीको गुड्डी हाँक्नुमा हामी आफूलाई महान् र चेतनशील ठान्छौं । देशका शासक गृह प्रवेश गर्दा कालो बोका काट्छन्, राँगो ढाल्छन् र आफूलाई परिवर्तनको वाहक भएको व्याख्यान छाँट्छन् । किन हुन्छ यस्तो ? हो, यहीँ जिल्लिन्छ एक्काइसौं शताब्दी ।
शासकले देखाउने बाटो नै कलुषित भएपछि समाज हिँड्ने त उही बाह्रौं शताब्दीको बाटो न हो । कस्तो मजाले, कस्तो सशक्त प्रश्न उठाएकी छन् शान्तिले । मान्छेलाई विष्टा खुवाउने, भूतप्रेत मन्छिँदै खरानीका डल्ला र खुर्सानी दोबाटोमा राख्ने ढोँगी र रोगी मानसिकताले सिंगारिएका मानवका खोपटालाई एक्काइसौं शताब्दीको मानिस भन्न नसकिने शान्तिको ठहर छ । समाजलाई यसरी प्रखर र पारदर्शी ढङ्गले पर्गेल्न सक्ने, आफैंलाई गाली गर्न सक्ने खुवी कवि शान्तिसँग छ ।
शान्ति मूलतः पश्चगमनमा दौडिरहेको, विभेदकारी र महिलाद्वेषी मानसिक प्रदूषण भरिएको समाजप्रति आफ्ना असन्तोष अभिव्यक्त गरिरहने सचेत कवि हुन् । हाम्रो मनोदशाका एक–एक एकाइको पोस्टमार्टम गर्न चाहन्छिन् उनी । एउटा कविलाई अर्को कविले चिन्ने भनेको उसको विचारबाट हो, कविताबाट हो । महिला संवेदना र खासगरी आमाबारे लेखिएका शान्तिका कविता बढी मार्मिक र अब्बल छन् । आमा के हुन् ? आमा के होइनन् ? यी प्रश्नका उत्तर धेरै खोजिएका छन् किताबमा । मायालु आमा भन्दै आमाको उत्पीडनमा पर्दा हाल्न तयार सन्तानको हूलले आमाको परिभाषा दिन सक्दैन । सन्तानले बुझ्नेभन्दा आमाको दैनिकी भिन्दै छ, उनको दुःख समाजको दुःखबाट टाढा छैन, उनको खिइएका दस नङ्ग्राको समाजशास्त्र पढ्न नसक्नु सन्तानको निरक्षरपना हो । आमालाई आदर्शको भ्युटावर चढाउनुभन्दा आमाको दुःखको विश्वविद्यालय पढ्न सक्नुपर्छ । कवि शान्ति आमालाई पढ्छिन् ।
शान्ति प्रश्न गर्छिन्– कुन माटोले बन्छन् आमाहरू ? उनलाई प्रिय लाग्छ विद्रोही आमा, पुराना शास्त्रका ग्रन्थहरू धुजाधुजा पारेर दोबाटोमा मिल्काइदिने आमा, पिठ्यूँको छाला खुइलिने गरी ढुङ्गा र पानी बोकेर ठड्याएको धरोहरमा उँचा भनिने मान्छेहरूले प्रवेश रोक लगाएपछि आस्था नै सेलाउने आमा । अर्कोतर्फ, चिन्ता छ उनलाई– महाराजा–महारानीका लहडी इतिहास पढेर कतै छोरीहरूको दिमागमा आघाती भुस्सा भरिने त होइन ? उनी छोरीलाई दोस्रो खालको इतिहास पढ्न उत्प्रेरित गर्छिन् । छोरीलाई दोस्रो दर्जामा दर्ता गर्ने अपाहिज दिमागलाई ठेगान लगाउने संघर्ष र प्रतिरोधको इतिहास ।
शान्तिका कविता सुबोध, सरल र सरस छन्, शाब्दिक गुजुल्टो छैनन्, तर मनमस्तिष्कलाई झस्काउने, झक्झकाउने बिहानीको चिरबिर र सौम्य आभाजस्ता छन् । समाजको ढोंगलाई उधिन्न, मानसिक विरेचनका लागि र आफ्नै पोस्टमार्टमका लागि शान्तिका कविता पढ्नुपर्छ । आमा, छोरी र महिला प्रतिरोधबाहेक तपाईं यसमा भुइँ मान्छेका कविता, धरातलका कविता, खुट्टामा जुत्ता नभएकाहरूको कविता, जीर्ण फूलको कविता, पाइला र नाम्लोका कविता पढ्न सक्नुहुनेछ । कविता बन्न के चाहिन्छ ? प्रवुद्धहरू बहसमा संलग्न छन् । तर, यसको उत्तर सहज छ महोदय, मान्यवर । आम कविता बन्न भुइँ मान्छेका कुरा आउनुपर्छ, तिनको भावना, चाहना र संवेदना समेटिएको हुनुपर्छ । ढोंगी, चिल्ला र उडन्ते आत्मकेन्द्रित मन्थनलाई कविता मान्न सकिन्न । त्यो कविता होला, तर त्यो दूषित कविता हो, साँघुरो कविता हो । कविताको उडान भुइँमा छ, आकाशमा होइन । शान्तिका कवितामा त्यो भुइँ पाइन्छ ।
‘आगोको घर’ कविता रच्ने शान्ति बिलकुल भिन्न कवि हुन्, विद्रोही हुन् । यहाँ त शान्तिको नाममा भित्रभित्र कोहराम मच्चाउनेको अतिशय जगजगी छ । ऐयासी बाँच्ने मुठीभरलाई शान्ति छ, बाँकीलाई त रातदिन गलपासो छ । यस्तो विषम समयमा विद्रोहको हतप्रभ विश्रामलाई कवि शान्ति औंला ठड्याउँछिन् । परिवर्तनको सरदारसँग उनी प्रश्न गर्छिन्– क्रान्ति कहाँ पुग्यो ? सिंहदरबारमा ? संसद् भवनमा ? नवधनाढ्यहरूको महलमा ?
शान्तिलाई आगोको कवि पनि भन्न सकिन्छ । आफ्नो परिचय फेरिदिने बाबुसँग उनी झगडा गर्छिन् । उनी चुपचाप बस्ने शान्तिप्रेमी कवि होइनन् । यो फरेबी शान्तिलाई खलबल्याईदिने अशान्त कवि हुन् उनी ।
महोदयहरू, विद्रोह किन हुन्छ ? कवितामा विद्रोह आउन हुन्छ कि हुँदैन ? बहस गर्दै गर्नुहोस् । हामीलाई त विद्रोह नै कविता हो, आफूले भोगेका अमानुषिक पीडा नै कविता हुन् । हाम्रा लागि त निलो पसिनाको धारा नै कविताको लय हो ।
शान्तिका अशान्त कविता नै हाम्रा कविता हन् । पारिजात हिँडेको बाटोमा हिँडेर हुँकार प्रकट गर्ने शान्तिलाई कवितामा स्वागत छ । आखिर, न्यायबद्ध विद्रोह शान्तिकै लागि हुने हो ।

Page 11
कोसेली

एउटा विद्यालयको कायाकल्प

- हेमन यात्री

समथल झर्न बिर्सिएको, पहाड उक्लनसमेत नसकिरहेको एउटा गुमनाम टापुजस्तो गाउँ– सानोसफेवा । मिक्लाजुङ गाउँपालिकाको एउटा दुर्गम बस्ती । यसलाई मोरङ जिल्लाको कर्णाली क्षेत्र भने पनि हुन्छ । त्यसो त सानोसफेवामा धेरै थोक सानासाना छन् । बस्ती सानो छ । घरहरू साना छन् । विद्यालय सानो छ । सानोसफेवाको आकाश सानो छ । सानोसफेवाको आकाशमा उड्ने चराहरूसमेत साना मात्रै उड्छन् । ४० वर्षअघि म जन्मिँदा अहिलेको सानो विद्यालयसमेत थिएन सानोसफेवामा । सडक, बिजुली बत्ती झनै परकै कुरा थियो । पिउने पानीको बन्दोबस्त थिएन । एक देश गएर कुवाबाट गाग्रो वा बाँसको
ढुङ्ग्रोमा पानी भरेर ल्याउनुपर्थ्यो । प्राथमिक तहको शिक्षा लिन दुई घण्टा उकालो हिँडेर उत्तरे (टाँडी निमावि) जानुपर्थ्यो । सानोसफेवामा मैले आफ्नो बालापन यस्तै सेरोफेरोमा बिताएँ ।
पानीघट्टजस्तो घुमिरह्यो समय । सानोसफेवामा दिनदिनै केटाकेटीको संख्या बढिरहेको थियो । तर, विद्यालयको अभाव भने खड्किइरह्यो । केटाकेटी
टाढाको विद्यालय हिँडेर जानुपर्ने सास्ती अभिभावकले अनुभव गरिसकेका थिए । एक दिन बा–आमाहरू आफ्ना बालबच्चाको शैक्षिक दुःख सम्बोधन गर्न तयार भएसँगै २०५० सालको एउटा बिहानीमा सुरु भयो श्री सिर्जना आधारभूत विद्यालयको नयाँ अध्याय । विद्यालय स्थापना भएसँगै जिल्लाबाटै खटिएर आए– शिक्षक लक्ष्मीप्रसाद काफ्ले । काफ्ले सरको उपस्थितिसँगै विद्यार्थीहरू बडो उत्साहले विद्यालय आउन सुरु गरे । कक्षा ३ सम्म स्वीकृत भएर आएको विद्यालय क्रमशः कक्षा ४ र ५ थपिएसँगै विद्यार्थीहरूको चाप बढ्दै गयो । ५ कक्षासम्म सञ्चालनमा आएपछि शिक्षक दरबन्दीको अभावमा माथिल्लो कक्षा सञ्चालन गर्न भने सम्भव भएन ।
केही वर्ष विद्यालय आफ्नो कीर्ति फैलाउँदै विछट्टै राम्रोसँग चल्यो । राम्रो पठनपाठन हुने भएकाले निकै टाढाबाट समेत अभिभावकहरू आफ्ना नानी भर्ना गर्न ल्याउँथे । तत्कालीन रमितेखोला गाविसभरिका प्राथमिक तहमध्ये सबैभन्दा उत्तम विद्यालयको रूपमा स्थापित थियो सिर्जना आधारभूत विद्यालय । उबेला विद्यालयको अवस्था निकै राम्रो थियो भन्ने प्रमाणस्वरूप विद्यालयको भित्तामा झुन्डिरहेकै छ– स्रोत केन्द्रस्तरीय विद्यालयको सिर्जनात्मक कार्यक्रमहरूमा सिर्जना प्राविले हासिल गरेको सफलताको प्रमाण–पत्रहरू ।
भौतिक पूर्वाधार विकासका लागि आधा निद्रा छोडेर, आधा पेट बसेर विद्यालयका लागि समय दिन्थे अभिभावकहरू । भौतिक संरचना निर्माणका लागि प्रत्येक वर्ष तिहारमा चन्दा सहयोग संकलन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गर्थ्यौं हामी । नृत्य, गायन, वाद्यवादन र नाटकको प्याकेज बोकेर हप्तौंसम्म टाढा–टाढा पुग्थ्यौं । हिँड्दा–हिँड्दै खुट्टा सुन्निएर दुख्थे । हामी दुखेकै खुट्टाले चाच्थ्यौं । गाउँदा–गाउँदा घाँटी सुकिसक्थ्यो । सुकेकै घाँटीले गाउँथ्यौं । के दिन, के रात हप्तौंसम्म चल्थ्यो यो क्रम । कहिलेकाहीँ एक ठाउँदेखि अर्को ठाउँ जाँदा बाटैमा रात पर्थ्यो । जङ्गलको साँघुरो बाटो, खुट्टा ठोक्किएर रगताम्मे हुन्थ्यो । लडेर चोट लाग्थ्यो कसैलाई । कसैलाई ज्वरो आउँथ्यो, टाउको दुख्थ्यो । सब तनावबीच कार्यक्रम सफल बनाएर घर फर्किन्थ्यौं । र, युद्ध जितेर फर्किएको लडाकुजस्तो ढुक्कको सास फेर्थ्यौं । यसरी सङ्कलन भएको रकम विद्यालयको भौतिक संरचना निर्माणमा खर्च हुन्थ्यो ।
...
एक दिन लक्ष्मी सरले विद्यालय छाडेर गए । सानोसफेवामा दसौं वर्ष बिताएर घरपायक सरुवा मिलाएर गए । यहाँ आउँदा उनको ओठमाथि जुँगाले राम्रोसँग धर्कोसमेत तानेको थिएन । सानोसफेवाकै कुवाको पानीले यौवन मजबुद बनाए, विवाह गरे, सन्तान उत्पादन गरे र परिपक्व मानिस भएर फर्किए । उनको प्रस्थानपछि विद्यालयको गति ओरालो लाग्न सुरु भयो । उनैले नियुक्ति दिएर राखेका एक स्थानीय शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएर गएका थिए । स्थानीयको नेतृत्व पाएपछि विद्यालयमा प्रगतिको ग्राफ बढ्ला सोचेका थिए अभिभावकहरूले । तर, ठीक उल्टो हुँदै गयो । विद्यालय–अभिभावकबीच समन्वय टुट्दै जान थाल्यो । अनियमित पठनपाठनका कारण विद्यार्थी र अभिभावकहरूमा विद्यालयप्रति वितृष्णाले घर बनाउन थालिसकेको थियो । प्रधानाध्यापकको कैयन् अकर्मण्यताबीच अभिभावकले विद्यालय सुधारको पहल नगरेका होइनन् । तर, अभिभावकलाई निराशाबाहेक केही हात लागेन । बरु दिनदिनै खस्किँदै गइरहेको विद्यालयमा केटाकेटी नपढाउने भनेर अभिभावकहरू आफ्ना नानीलाई विद्यालयबाट निकालेर अन्तै लैजान थाले ।
दिनहरू बित्दै गए, हप्ता, महिना, वर्षहरू फेरिए । विद्यालयमा हेडमास्टरहरू फेरिए, विद्यालय व्यवस्थापन समिति फेरिए, तर विद्यालयको अवस्था फेरिएन, झन्झन् खस्किँदै गयो । पछि आएका हेडमास्टरहरूले समेत विद्यालय सुधारका लागि कुनै पहल गरेनन् । बरु सानोतिनो गल्तीहरू गर्दै हिँडे ।
तीन वर्षअघि, पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा ३ जना मात्रै विद्यार्थी बाँकी रहे । त्यहीबेला स्थानीय सरकार अर्थात् गाउँपालिकाबाट एक जम्बु टोली सरकारी मानिस आए । विद्यालयको खातापाता पल्टाए । मोबाइलको क्यालकुलेटर थिचेर केके हिसाब निकाले । र, विद्यालय बन्द गर्ने निर्णय सुनाए । संयोगले त्यस दिन म गाउँ पुगेको थिएँ । सरकारी अधिकारीहरूको निर्णय सुनेर कटक्कै भयो मन । ननिको लागिरह्यो । नजिकमा विद्यालय नहुँदाको पीडा नमज्जासँग अनुभव गरेको मानिस, जो म आफैं थिएँ । दुई दिदीहरूको पछि लागेर घण्टौं उकालो हिँडेर विद्यालय पुग्ने गरेको आफ्नै कहालीगाग्दो अतीत सम्झिएँ । र, सरकारसमक्ष ‘नो’ भनेर कराएँ । विद्यालय बन्द गर्न मिल्दैन भनेँ । एक जना मात्रै विद्यार्थी भएको अवस्थामा पनि विद्यालय बन्द गर्नुहुन्न भनेँ । देशभरिका कैयौं विध्यार्थीविहीन विद्यालयको उदाहरण राखेँ । मैले ‘नो’ भनिरहेँ । र, भनेँ, ‘हामीलाई एक महिनाको समय दिनुस्, एक महिनापछि फेरि तपाईंहरू अनुगमनमा आउनुहोला । विद्यालयको अवस्थामा यस्तै रहे, ठीक छ बन्द गरौंला ।’ निकैबेरको रस्साकसीपछि विद्यालय बन्द गर्न आएको स्थानीय सरकार एकमहिने भाका बोकेर फर्कियो । म भने गाउँमै रहेँ ।
...
तीन वर्षपछि । गएको चैत २३ गते गाउँपालिका अर्थात् हाम्रा स्थानीय सरकारका प्रतिनिधीहरू विद्यालयमा हाजिर थिए, जसले तीन वर्षअघि विद्यार्थी अभावले विद्यालय बन्द गर्ने निर्णय सुनाएका थिए । तर, यसपटक उनीहरू पहिलेझैं विद्यालय बन्द गर्न आएका थिएनन् । विद्यालयको २८औं वार्षिकोत्सव अवसरमा प्रविधिमैत्री विद्यालय घोषणा गर्न आएका थिए । पहिलेजस्तो ३ जना मात्रै विद्यार्थी थिएनन्, ३ दर्जनभन्दा बढी विद्यार्थीअघि कम्प्युटर ल्याबको उद्घाटन गरे । विद्यालयमा स्मार्ट टेलिभिजन जोडेको देखे, जहाँबाट करिब एक दर्जन शिशु कक्षाका नानी रमाउँदै पाठ सिकिरहेका थिए । खेल सामग्रीसहितको मैदान, दिवा खाजाघर, प्रत्येक कक्षाकोठामा बुक कर्नरसहितको पाठ्यसामग्री... । तीन वर्षअघि उनीहरूले जस्तो विद्यालय देखेर गएका थिए, त्यस्तो केही थिएन । बिलकुल फरक थियो विद्यालयको चित्र । तीन वर्षपछि विद्यालयमा उनीहरूले जे देखे, सामूहिक स्वरमा भने– ‘कायापलट भएछ ।’
उनीहरूले भनेको यो ‘कायापलट’ त्यत्तिकै भएको होइन । तीन वर्षअघि एक महिनाको समय मागेपछि हामीले जुन प्रयास गरेका थियौं, त्यही प्रयासले यहाँसम्म ल्याइपुर्‍याएको थियो । त्यो एक महिनाभित्र विद्यालय सेवा क्षेत्रको प्रत्येक घरमा घरदैलो कार्यक्रम लिएर हिँड्यौं । विद्यार्थी भर्ना कार्यक्रममा प्रत्येक विद्यार्थीलाई निःशुल्क पोसाक र झोलासहितको प्याकेज दिएका थियौं । विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रावृत्तिको कार्यक्रम राखेका थियौं । हाम्रो घरदैलो कार्यक्रमको प्रभाव सकारात्मक देखियो । एक महिनाको समयसीमामा हामीले तीनबाट चौबीस जना विद्यार्थी जम्मा गर्‍र्यौं । र, एक महिनापछि हामी आफैं सरकारसामु विद्यालयको प्रगति विवरणसहित हाजिर भयौं । सरकार उस्तो खुसी नभए पनि दुःखी भने भएन । सरकारको प्रतिक्रिया सुनिसकेपछि वेगले दौडिरहेको हाम्रो सासको लयले तत्काल केही राहत पायो ।
यस वर्ष सामान्य बित्यो । नियमित पढाइ सञ्चालन भयो, शैक्षिक सत्र सकियो । दोस्रो वर्षको मध्यतिरबाट फेरि सरकारलाई सनक चढ्न थाल्यो । पहिलेजस्तो विद्यालय बन्दै गर्नुपर्छ भन्ने त थिएन । तर, देशैभरिका विद्यालयमा भएको दरबन्दी मिलान गर्ने क्रममा विद्यार्थी संख्या कम भएको कारण देखाएर सरकारले हाम्रो विद्यालयको एउटा दरबन्दी कटौती गरेको सूचना निकाल्यो । यो हाम्रा लागि अप्रत्याशित थियो । कक्षा ५ सम्म चलिरहेको विद्यालयमा जम्मा दुईवटा प्राथमिक तहको दरबन्दी थिए । एउटा दरबन्दी काटिदिएपछि एक जना शिक्षकले कसरी १–५ कक्षा सञ्चालन गर्ने ? स्थानीय सरकारले फेरि एकपटक अव्यावहारिक, अपरिपक्व निर्णय गरेको थियो । यसरी तोकिदिएको मापदण्ड पूरा गर्दै जाने हो भने देशैभरिका हजारौं केटाकेटीले प्राथमिक तहको शिक्षासमेत पार गर्ने अवस्था रहँदैन । एउटा उदाहरण यही विद्यालयलाई लिन सकिन्छ । दुई दरबन्दीले मुस्किलले कक्षा ५ सम्म चलिरहेको विद्यालयमा एउटा दरबन्दी कटौती गरेपछि कक्षा पाँच सञ्चालन गर्न सम्भव रहँदैन । दुःखले कक्षा ३ चल्न सक्छ । र, यहाँका विध्यार्थीको सबैभन्दा ठूलो डिग्री भनेकै कक्षा ३ हुन जान्छ । माथिल्लो कक्षा पढ्न दुई घण्टा उकालो बाटो छिचोल्नुपर्ने हुन्छ । सस्याना केटाकेटीका लागि त्यो असम्भव हो । डेरा गरेर पढ्न अभिभावकको खल्ती रित्तो छ । सानोसफेवाका नानीहरूले लिने शैक्षिक डिग्री कक्षा ३ मात्रै हो ? माथिल्लो कक्षा पढ्न पाउने हक छैन उनीहरूसँग ?
...
फेरि सरकारलाई ‘नो’ भन्यौं । भौगोलिक विकटता र न्युन जनसँख्याका आधारमा यस क्षेत्रका कुनै पनि विद्यालयले सरकारको मापदण्ड पूरा हुन सक्दैन । सरकारले भनेजस्तो विद्यार्थी संख्याको आधारमा दरबन्दी कायम गर्ने हो भने देशभरिका केहीबाहेक अधिकांश विद्यालयले सरकारको मापदण्ड पूरा गर्न सक्दैनन् । तर, पहुँचवालाहरूको मोलमोलाइमा आ–आफ्ना विद्यालयमा भएको दरबन्दी जोगाउँदै आइरहेको जगजाहेर छ । अधिकांश विद्यालयहरूले फर्जी विद्यार्थी संख्या राखेर विद्यालय सञ्चालन गरिरहेकै छन् । विद्यालय सुधारका लागि व्यवस्थापनमा ध्यान पुर्‍याउनपर्छ भन्ने बोध गरिसकेको हामीले चोरबाटाको छनोट भने गरेनौं । हामीले यसपटक पनि सरकारसँग ‘नो’ भन्यौं । आक्रोश पोख्यौं । बिन्ती बिसायौं । तर, सरकारले हाम्रो कुरा सुन्न चाहेन बरु विद्यालयलाई चिठी लेखेर निर्देशन दियो, ‘त्यस विद्यालयमा कायम रहेको एउटा दरबन्दी कटौती भएको हुँदा उक्त दरबन्दीसहितको शिक्षक अर्को विद्यालयमा रमाना दिएर पठाउनू ।’ तर, यसपटक पनि हामीले अटेर गर्‍यौं । ‘नो’ भनिरह्यौं । हाम्रो अटेर, तत्परता वा हुटहुटी के देखेर हो, सरकारले कटौती गरिसकेको दरबन्दी त्यही विद्यालयमै कायम गरिदियो ।
...
एक दिन, टाउकामा दुई हात बाँधेर ओछ्यानमा पल्टिरहेको थिएँ । विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर मन डुलिरहेकै थियो । एक ठाउँमा पुगेर टक्कै रोकियो मन । भर्खरै गाउँमा बिजुली पुगेको छ, त्यसको प्रयोजन विद्यालयमा हुनुपर्छ । तर, गर्ने कसरी ? मनैले जवाफ दियो– केही थान कम्प्युटर जोडिदियो भने केटाकेटी प्रविधिसँग नजिक हुन्छन् । र, केटाकेटीहरूमा विद्यालयप्रति आकर्षण पनि बढ्ला । तर, कम्प्युटर किन्ने पो कसरी ? सरकारले पक्कै दिने होइन । ‘विद्यालय बन्द गर्नू’ भनिरहने सरकारले के सहयोग गर्ला ? त्यसपछि सामाजिक सञ्जालमा जोडिएका नजिकका साथीहरूको छोटो सूची बनाएँ । र, विद्यालयको तर्फबाट सहयोगको प्रस्ताव राख्दै गएँ । नभन्दै मेरो प्रस्तावले बिस्तारै आकार लिन सुरु गर्‍यो । अभियानमा देशविदेशबाट साथीहरूले हैंसे गर्नुभयो । कति साथीहरू आफ्नै आग्रहमा स्वतः जोडिन आउँदाको अनुभूति... आहा ! कम्ता खुसीको क्षण थिएन त्यो ।
लक्ष्मी पूजाको बिहान, गएको कात्तिक १७ गते । हातमा रङको बट्टा र ब्रस बोकेर विद्यालयअघि उभिएँ म । फोहोर र झाडीबीच काम गर्न सुरु गर्दा एक्लै थिएँ म । साथीहरूले अल्छी गरे वा चाडपर्वका कारण केही दिन काम गर्न आएनन् । म भने भाइटीकाको दिनसमेत विद्यालयमा एक्लै रङ पोतिरहेको थिएँ । तिहारपछि भने साथीहरू छिटफुट जोडिँदै आउनुभयो । कति साथीहरू त एकै दिन पनि विद्यालयमा उपस्थित भएनन् । उनीहरू भन्थे रे– ‘सरकारले गर्ने काम हामीले किन गर्ने ?’ कुरा ठीकै थियो । बाटोघाटो, स्कुल, स्वास्थ्य चौकी, पुलपुलेसो सरकारले बनाउने हो । तर, सरकारले नबनाए के गर्ने ? हामीले गर्न सक्ने काम आफैं गर्ने कि नगर्ने ? सरकारलाई गरिदेऊ भनेर घच्घच्याउने काम गर्ने कि नगर्ने ? यसको उत्तर उनीहरूसँग थिए, थिएनन् कुन्नि ! विद्यालयको पछिल्लो अवस्थासँग भने राम्रै जानकार थिए उनीहरू । तर, अधिक युवा साथीहरूले निःशुल्क श्रमदान गरेर साथ दिए । कात्तिकबाट सुरु भएको काम करिब ४/५ महिनासम्मै चल्यो । यसबीच कहिलेकाहीँ साथीहरूको सहयोगबाहेक, हर दिन विद्यालयमा काम गर्ने एक्लैजसो थिएँ म । घरबाट बिहान निस्केर साँझ मात्रै फर्कन्थेँ । काम गर्दागर्दै कहिले खानसमेत भुलिदिन्थेँ । कहिलेकाहीँ आमा आएर खान सम्झाउनुहुन्थ्यो । काममा जति नै दुःख भए पनि बन्दै गरेको विद्यालय देखेर आफैंसँग खुसी हुन्थेँ । यो ठीक भइरहेको छ भनेर आफैंले आफैंलाई धाप दिन्थेँ । कामले थाकेको बखत सस्याना केटाकेटीसँग संवाद गरेर थकान मेट्थेँ । बितेको पाँच–छ महिनाभित्र विद्यालयसँग यति पारिवारिक भएछु म, आफ्नो परिवारभन्दा बेसी विद्यालयका लागि सोच्ने भइसकेको थिएँ ।
दिन–रात काममा जोतिएपछि बुझ्दै गएँ– विद्यालयमा कति धेरै खाल्डाखुल्डी रहेछन् । कतै केही नमिलिरहेको, केही नपुगिरहेको । हुन पनि मैले विद्यालयमा काम सुरु गर्दा त्यो कुनै शैक्षिक संस्था नभई बेवारिसे छोडिएको गाईगोठजस्तै थियो । वरिपरि झाडी र फोहोरबाहेक केही थिएन । कक्षाकोठामा जतासुकै कागजको फोहोर र ढुङ्गाको थुप्रो । लेउ र माकुराको जालोले भरिएको शौचालय ।
यतिसम्म ठीकै थियो, उदेकचाहिँ कतिखेर भने सस्याना शिशु कक्षाका नानीहरूलाई बस्ने गतिलो चकटीसमेत थिएन, नानीहरू चिसै भुइँमा बस्थे, चिसै भुइँमा बसेर खाजा खान्थे । यति हुँदाहुँदै पनि विद्यालय सम्झेर आइरहेका थिए नानीहरू र शिक्षकहरू ।
...
अहिले विद्यालय, विद्यालयजस्तै देखिन्छ । नानीहरूका लागि बालमैत्री कक्षाकोठा छ । स्मार्ट टेलिभिजनमा पढ्छन् उनीहरू । खेलमैदान छ । खेलसामग्री छ । कम्प्युटर ल्याब छ । व्यवस्थित दिवा खाजाघरमा बसेर खाजा खान्छन् नानीहरू । रमाउँदै पढ्छन्, पढ्दै रमाउँछन् । अस्तिसम्म रुँदै विद्यालय आउने नानीहरू, हिजोआज हाँस्दै–रमाउँदै आउँछन् । महिनौं विद्यालय परिसरमा काम गरिरहँदा कक्षाकोठाबाट निस्किरहेका शिक्षकहरूलाई देख्थेँ– कपाल, पोसाक र हातभरि चकको धूलैधूलो बोकेर निस्किरहेका हुन्थे । विद्यालय स्थापनाको २८ वर्षपछि अहिले कक्षाकोठाको कालोपाटी, चक–डस्टरले समेत पालो पाइसकेको छ । हिजोआज शिक्षकहरू कक्षाकोठाबाट बाहिर निस्कँदा उनीहरूका कपाल, पोसाक र हातका औंलासमेत सफा देखिन्छन् ।

कोसेली

'उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊा एम्बुलेन्स आउँदैन'

- महेश केसी

७ूली भेरी नदी छेउछाउ । यो मध्यअसारमा काँधमा भारी सरिया बोकेर झोलुंगे पुल तरिरहेकी छन्– डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ६ फुल्चिङकी अम्बिका चलाउने । खोला किनारसम्म आउने ट्रकले ल्याएको मालसामान झोलुंगे पुलबाट यसरी तार्नुलाई स्थानीय भाषामा ‘पल्टी’ भनिन्छ । भेरी करिडोरअन्तर्गत कुल १ सय १७ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक खण्डमा सवारी तर्ने पुल नहुँदा जाजरकोटको तल्लु बगर, डोल्पाको त्रिपुराकोटमा यसरी नै झोलुंगे पुलबाट सामान पल्टी गरिन्छ ।
पल्टी गराउनु सामानधनीलाई बाध्यता छ भने स्थानीयलाई अवसर । यी दुई ठाउा आसपासका सर्वसाधारण दिनअनुसारको पालो लगाएर पल्टी गर्न भेरीछेउ पुग्छन् । आज एक गाउाको पालो छ भने भोलि अर्को गाउाको पालो आउँछ– पल्टी गर्ने  । ‘हाम्रो अरु रोजगारी छैन । यही पल्टी गरेर गुजारा चलेको छ,’ त्रिपुराकोटकी सपना सार्की भन्छिन्, ‘टोलअनुसारको पालो हुन्छ । पल्टीको पालो परेको दिन गाउाका प्रायः सबै घरबाट भारी बोक्न पुलछेउ पुग्छौं ।’
डोल्पाबाट दैनिक उपभोग्य सामान ओसार्न नेपालगन्ज पुग्नैपर्छ ।  त्यहाँ पुग्न चारवटा सवारी फेर्नुपर्छ । भाडा मात्रै कम्तीमा ३५ सय खर्च हुन्छ । खान–बस्न कम्तीमा ५ देखि ६ हजार रूपैयाा खर्चेर दुई दिनमा बल्लतल्ल नेपालगन्ज पुगिन्छ । जुफाल एयरपोर्टमा मुस्किलले सातामा ३–४ वटा उडान हुन्छन् । तर, जहाजको टिकट पाउन सर्वसाधारणका लागि उति सजिलो छैन । सामान्य अवस्थामा त दुःखजिलो दैनिकी चलेकै छ, तर आकस्मिक बिरामी पर्दा भने बडो कष्ट बेहोर्नुपर्छ । सपना सार्की भन्छिन्, ‘यहाँ जिन्दगी दुःखी छ । उडिजाऊा जहाज पाउादैन । गुडिजाऊा एम्बुलेन्स आउादैन ।’

Page 12
कोसेली

जुगौं लामो एक दिनको कथा

- प्रदीप ज्ञवाली

युद्धबन्दी युवाको कपाल खौरिइयो । रौँका जरासमेत उखेलियो । सुत्केरी ऊँटलाई मारेर कल्चौंडोको छाला काढियो र त्यसको कलिलो पत्रलाई काटेर युवाको मुडुलो टाउकामा टन्टनी बेरियो । टाउकाले भुइँ छुन नमिल्ने गरी गर्दनमा काठको जुवा भिराइयो । अनि हात–खुट्टा बाँधेर, निर्जन बस्तीमा, पानी पनि पिउन नदिईकन टण्टलापुर घाममा लडाइयो ।
घाम चर्किंदै गयो । उँटको छाला कक्रकिँदै गयो । एक दिन होइन, दुई दिन होइन, हप्तौं घाममा राखेपछि ऊँटको छालाले टाउकोलाई फलामको पाताले जस्तै चरप्प
अँठ्याउन थाल्यो । छाला सुक्दै गयो, रौं पलाएर त्यसैभित्र छिर्न खोज्यो, कडा छाला छेड्न नसकेपछि फेरि घुम्रिएर उसकै टाउकामा छिर्‍यो र त्यसले हजार सियो रोपिएजस्तै असह्य यातना दिन थाल्यो ।
आङै सिरिङ्ग पार्ने यस्तो यन्त्रणा पार गरेर बाँचेको त्यो बन्दी हप्तौंपछि यस्तो प्राणीका रूपमा खडा भयो, जसको स्मरण शक्ति थोपै बाँकी नरहेर रित्तिएको थियो । आफू को हुँ भन्ने पत्तै छैन, कहाँबाट आएँ भन्ने सुद्दी नै छैन । न आमाको याद, न बाबुको सम्झना । आफूलाई दुई गाँस खान दिने मालिकबाहेक कोही नचिन्ने । कुनै डर नभएको, कुनै गुनासो नगर्ने । मालिकले अह्राएको आँखा चिम्लेर मान्ने । मालिकले मार् भनेर अह्राए जोकसैलाई मार्न तयार । एउटा बीभत्स र क्रूरतम प्रक्रियाबाट दास बनाइएको युद्धबन्दी, अर्थात् मान्कुर्त ।
मान्कुर्त, जसबारे थाहा पाएरै पनि आफन्तजन उनलाई फर्काउन जाने आँट गर्दैनथे । कसरी जानु ? थाहा पाए युद्धपिपासुहरू मार्न आइलाग्थे । मान्कुर्तलाई फिर्ता ल्याएरै पनि के गर्ने ? एउटा जिउँदो पत्थर, सास फेरिरहेको लास सदृश पात्र ।
किर्गिस्तानका प्रसिद्ध उपन्यासकार, कथाकार र नाटककार चिङ्गिज आइत्मातोभ (१९२८–२००८) को उपन्यास ‘द डे लास्टस् मोर द्यान अ हन्ड्रेड इयर्स’ (जुगौं लामो एक दिन) भित्रको एउटा हृदयविदारक प्रसङ्ग हो यो । कथानक, प्रस्तुति र शिल्पको दृष्टिले यो उपन्यास उत्कृष्ट र कालजयी छ । एक जना कज्जाक श्रमिक येदिगेईले आफ्नो पुरानो साथीलाई मुस्लिम परम्पराअनुसार दफन गर्न तय गरेको एक दिनको यात्रावरिपरि यो उपन्यास घुम्छ । तर, त्यस एक दिनभित्र के मात्र छैन ? कजाकास्तान र किर्गिस्तानका घाँसे मैदान (स्तेपी) का रैथानेहरूको सङ्घर्षपूर्ण जीवनको श्यामश्वेत पेन्टिङ छ । मान्कुर्तको त्रासद जिन्दगी छ । अमर गायक रैमाली–आगाको दुःखान्त प्रेमकथा छ । अन्तरिक्षयात्रीले हाम्रो आकाशगङ्गा बाहिरको प्राणीजगत्सँग गरेको सम्पर्क र अन्तर–ब्रह्माण्डीय यात्राको श्वैरकल्पना छ । स्तालीनकालमा आलोचकहरूमाथि गरिने अन्याय र कारबाही छ । र,
आफ्नो सुख–दुःखको साथी कारानार नामको ऊँटसँग येदिगेईको सम्बन्धको जेलिएको पाटो छ ।
चौबीस घण्टाको छोटो क्यानभासमा मिथ र विज्ञान, राजनीति र संस्कृति एवं मानव र पशुपन्छीका कथाहरूको यति अद्भुत बुनोट आइत्मातोभले मात्रै गर्न सक्छन् ।
त्यसो त स्मृतिपट (फ्ल्यासब्याक) मा सिङ्गो जिन्दगी उतार्ने उनको शैली चर्चित पुस्तक ‘फेयरवेल गुल्सारी’ (‘बूढो र घोडा’ शीर्षकमा नेपालीमा अनूदित) मा पनि झल्किएको छ, जहाँ पूर्वाग्रहपूर्ण ढङ्गले पार्टीबाट निष्कासित एक जना पाको योद्धाले मरणोन्मुख अवस्थाको आफ्नो घोडासँग एकालापमार्फत बाँडेको पीडा र सपनाले भावुक बनाउँछ ।
‘जुगौं लामो एक दिन’ मा बोराल्नी–बुरान्यी नाम गरेको सानो रेलवे स्टेसनमा काम गर्ने येदिगेईलाई श्रीमती उकुबाला आएर खबर दिन्छे– काजान्गाप रहेनन् । खबर अप्रत्याशित थिएन किनभने चालीस वर्षभन्दा लामो समयदेखिको अन्तरङ्ग साथी धेरै दिनदेखि मृत्यु कुरिरहेको थियो । श्रीमतीलाई आवश्यक कुरा अह्राएर ऊ कार्यालयको काम छोट्याई घरतिर लाग्छ । आफन्तलाई खबरखाबर, भोलिपल्ट दाहसंस्कारका लागि आवश्यक प्रबन्ध, मलामी र गाउँलेलाई खुवाउन खानाको तयारी ! काजान्गापको बोर्डिङ स्कुल पढेको ‘आधुनिक’ छोरालाई बाबुको मृत्युसंस्कार रीतपूर्वक र सम्मानजनक हुनुपर्छ भन्ने सम्झाउने सास्ती ! सबै काम सकेर भोलिपल्ट बिहानै एउटा ट्याक्टरमा लास राखेर मृतकको छोरा र ज्वाइँ, ऊँटमा आफू, चिहान खन्न एउटा एक्साभेटरसहित मलामी लिएर ऊ ३० किलोमिटर टाढा रहेको निर्जन थलोतिर लाग्छ । कष्टपूर्ण यात्रा पार गरेर साँझ पर्ने बेला आन्ना–बेइत समाधि (आमाको विश्रामस्थल) पुग्दा पुलिसले बाटो छेक्छ । सुनाइन्छ– ‘यो जग्गा सरकारले विशेष कामका लागि कब्जा गरेको छ, अब समाधिस्थल भत्किन्छ र यहाँ रकेट प्रक्षेपण केन्द्र बन्छ ।’ नोकरशाही सत्ता र आफ्नो संस्कार एवं संस्कृतिअनुरूप शव समाधिस्थ गर्न चाहने दुई मूल्यबीचको द्वन्द्वमा हार खाएर उनीहरू फर्किन्छन् । येदिगेईले काजान्गापको ज्वाइँको गाली खान्छ । तर, पनि कसैको कुरा नसुनी बीच बाटामै शव दफन गर्छ ।
उपन्यासको मूल कथा यत्ति हो । तर, यसबीच येदिगेईको स्मृतिपटमा आउने–जाने सन्दर्भ भने व्यापक छन् ।
जुन समाधीस्थलमा उनीहरूलाई पुग्न दिइएन, आहानअनुसार त्यो नाइमान–आनाको समाधि थियो । नाइमान आना, युद्धमा पति गुमाएकी विधवा । बदला लिन हिँडेको छोरोसमेत मारिएको अपुष्ट खबरले मुटु चिरिएकी आमा । तैपनि कि छोराको सास भेटिएला कि लास भनेर कुरेकी जीर्ण रूख । यस्तैमा एक दिन सामान बेच्न हिँडेका घुमन्ते व्यापारीहरूले ऊँटको बथान चराइरहेको मान्कुर्तबारे गरेको कुरा उनको कानमा पर्छ । मनमा पहिरो जान्छ । किनकिन लाग्छ, पक्कै पनि त्यो मेरै छोरा हुनुपर्छ । अनि सुनसान रातमा, तम्बुबाट बाहिर आउँछिन् र ऊँटमा चढेर छोरा खोज्न स्तेपीको अनन्त यात्रामा निस्कन्छिन् । भौतारिँदा भौतारिँदा अचानक ऊँटको बथान हाँकिरहेको छोरो भेट हुन्छ । तर, त्यो भेट छोरासँग थियो कि पत्थरसँग ? न आमा देख्दा आँखा रसिलो छ, न अनुहारमा कुनै भाव, ऊ त सुक्खा, निष्प्राण मुढोजस्तो ! न आफ्नो नाम सम्झिन्छ, न लोरी सुनेर बाल्यकालतिर फर्किन्छ । बल्लतल्ल निस्केको एउटै आवाज– ‘को आमा ? म कसैलाई चिन्दिनँ । मेरो कोही आमा छैन । मालिकबाहेक मेरो कोही छैन ।’
त्यस्तो स्थितिको सामना एउटी आमाले कसरी गरी होलिन् ?
तैपनि आमाको मन । हरेस खाँदिनन् । थाहा पाएर युद्धपिपासुहरूले झन्डै सिध्याउन्नन् । तै, लुकेर जोगिन्छिन्् । छोराको स्मरणशक्ति फर्काउन र घर लैजान सकेको गर्छिन् । तर, मालिकले मान्कुर्तलाई मार्न अह्राएको कुरा उनलाई के थाहा ? स्तेपीको अनन्त विस्तारमा खोज्दै उनी जब फेरि छोरो नजिकै पुग्छिन् र तिम्रो बाबुको नाम दोनेनबाई हो र तिम्रो जोलामान हो भनेर सम्झाउन खोज्छिन्– एउटा तिखो वाण सन्न गर्दै आउँछ र आमालाई ठहरै पार्छ । ढल्दै गरेकी आमाको मुखमा झुन्डिन्छ– ‘दोनेनबाई’ ‘दोनेनबाई’ ।
भनिन्छ, त्यसै बेला उनको टाउकोबाट सेतो रुमाल खस्यो । त्यसले सेतो चराको रूप लियो । र, त्यसउपरान्त त्यो चरा गीत गाउँदै भौंताइरहेको छ– दोनेनबाई...दोनेनबाई......। (नाइमान आना ढलेकै ठाउँमा येदिगेईले साथी काजान्गापको लास गाडेको थियो ।)
मानवीय दासताको भयानक त्रासदी । मुक्तिका लागि आमाको बलिदानी सङ्घर्ष । मातृ बात्सल्यको वर्णनातीत गहिराइ । युद्धबन्दीको ‘ब्रेनवास’ र दासत्वको अतीतलाई पुनर्जीवन दिएर लेखकले आफू बाँचिरहेको समाज र पुँजी, जड सत्ता र शक्तिले नयाँ दासत्वका लागि खेलेको भूमिकामाथि पनि प्रश्न खडा गरेका छन् ।
उपन्यासमा बुनिएको अर्को रोचक उपकथा हो, सोभियत सङ्घ र अमेरिकाको संयुक्त अन्तरिक्ष परियोजना । लेखकको कल्पनाशीलता गज्जबको छ– अन्तरिक्ष स्टेसनमा पुगेका सोभियत र अमेरिकी अन्तरिक्ष वैज्ञानिकले अचानक अर्कै लोकको रेडियो सिग्नलमार्फत सन्देश सुनेको । उक्त लोकका प्राणीले पृथ्वीका मानवजातिसँग सम्पर्क गर्न र
ब्रह्माण्डको भविष्यबारे छलफल गर्न चाहेको । उनीहरूलाई आफ्नो लोकमा लैजान लेस्नाया ग्रुद नाम गरेको यान पठाएको । के गर्ने, के गर्ने भन्दाभन्दै दुई जना अन्तरिक्षयात्री यो अवसर गुमाउन नहुने निष्कर्षसहित अर्कै लोकतिर हिँडेको । त्यो खबर पाएर सोभियत र अमेरिकाको नेतृत्ववृत्तमा खैलाबैला मच्चिएको । अन्त्यमा त्यो मिसन नै अन्त्य गर्ने, सबै गुपचुपमा राख्ने र पृथ्वीका लागि नयाँ सुरक्षाकवच बनाउने समझदारी भएको ।
उपन्यासमा अबुतालिप नामक एक जना अभागी पात्रको सन्दर्भ पनि छ । ऊ युद्धमोर्चामा लड्दा–लड्दै घाइते भएर युगोस्लाभिया पुगेको थियो र त्यहीँ उनीहरूको पक्षमा लडेको थियो । तर, उसको यही विगतले जिन्दगीमा तिखो काँडा बनेर घोचिरहन्छ । उसमाथि युद्धमा घात गरेको र विदेशीका लागि काम गरेका बात लाग्छ । स्कुलहरूमा पढाउँदै हिँड्छ, अलि दिनपछि खेदिन्छ । पेटको आगो निभाउन लालाबालासहित भौतारिँदै बोराल्नी–बुरान्यी आइपुगेको उसलाई येदिगेईले आश्रय दिन्छ । काममा लगाइदिन्छ । उनीहरू आत्मीय साथी बन्छन् । अबुतालिप नानीहरूलाई पढ्न, लेख्न सिकाउँछ । भविष्यमा आफ्ना सन्तानले बाबुले जिन्दगीमा के–के भोग्नुपर्‍यो सबै थाहा पाऊन् भनेर डायरी लेख्न थाल्छ । तर, यही डायरी उसलाई फसाउने पासो बन्छ । डायरीमा उल्लेख गरिएका विभिन्न प्रसङ्गलाई स्तालिनको विरोध गरेको र सोभियत प्रणालीको आलोचना गरेको अर्थ लगाएर उसलाई गिरफ्तार गरिन्छ । हिरासतमै उसको रहस्यमय मृत्यु हुन्छ । उसकी श्रीमती जारिपा र येदिगेईले उसको मृत्युको खबर ढिलो मात्रै थाहा पाउँछन् । पीडाको अनन्त गहिराइबाट त्यस परिवारलाई बाहिर निकाल्न येदिगेईले गरेको सहयोग र बच्चालाई दिएको न्यानो माया मनै छुने खालको छ । तर, रहँदाबस्दा उसभित्र जारिपाप्रति एकतर्फी प्रेम पलाउँछ । अबुतालिपको मित्रतामा डुबेको येदिगेई उसलाई मरणोपरान्त भए पनि मिथ्या आरोपबाट उन्मुक्ति दिलाउन राजधानी अल्मा–आतासम्म पुग्छ । एक जना चिनेजानेको साथीको सहायताले नेताहरूसँग भेट्छ । मिथ्या आरोप फिर्ता गराउँछ । दोषी प्रहरीलाई बर्खास्त गराउँछ र फर्किन्छ ।
आइत्मातोभका बाबुलाई पनि कुनै बेला यसरी नै ‘सोभियतविरोधी बुर्जुवा राष्ट्रवादी’ भनेर पार्टीबाट निष्कासन गरिएको थियो । कतै उनले यस प्रसङ्गमार्फत आफ्नो पीडा पो पाठकमाझ बाँड्न खोजेका हुन् कि ?
उपन्यासमा गर्मीमा आगोको भुङ्ग्रोजस्तो तातिने र जाडोमा हिउँको कठ्याङ्ग्रिने पहाड बन्ने सारेजोकको चित्रण जीवन्त छ । येदीगेईले युवावस्थामा बिताएको अराल सागरका उत्ताल तरङ्गको वर्णनले पाठकलाई उतै पुर्‍याउँछ । आइत्मातोभ सोभियत लेखक सङ्घका सदस्य एवं राज्यका विभिन्न निकायको जिम्मेवारीमा थिए । तर, त्यस जिम्मेवारीले उनलाई एक जना सचेत र आलोचनात्मक चेतले युक्त लेखकका रूपमा तत्कालीन सोभियत सत्ताका कमजोरीहरूलाई उजागर गर्न रोकेको छैन । बरु मिथ र विज्ञान कथामार्फत उनले यस प्रसङ्गलाई झनै जीवन्त बनाएका छन् ।
आइत्मातोभका विभिन्न परिचय छन्– गोर्वाचोभका सल्लाहकार, राजदूत, सांसद आदि । तर, ‘फेयरवेल गुल्सारी’, ‘जामिलिया’, ‘प्रथम शिक्षक’ जस्ता उपन्यास, नाटक र कथाका स्रष्टा उनको मूल पहिचान भने मानव जातिको स्वातन्त्र्य र गरिमाको पक्षपोषण गर्ने लोकप्रिय र पठनीय स्रष्टाका रूपमा रहेको छ ।

कोसेली

कलासँगै व्यापारको उडान

- सुरक्षा पन्त

मैले अभिनय गरेको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ का लागि कान्स रेड कार्पेटमा उभिँदै गर्दा नेपाल धेरै सानो महसुस भएको थियो । तर, जब कार्यक्रममा छिरें र प्रिमियरमा मेरो फिल्म हेरेँ, पर्दामा त नेपाल निकै विशाल लाग्यो । ठूलो भीडले हाम्रा हिमाल हेरिरहेका थिए, नेपालीहरू हेरिरहेका थिए । फिल्ममार्फत नेपाली मन, मानवता देखिइराख्दा आफैंलाई लाग्यो– ओहो नेपाल त विशाल देश पो छ त ! नेपालबारे दुई कुरा महसुस भयो– बाहिर सानो जस्तो, भित्र ठूलो ।
बाहिर त नेपाल एउटा देश हो भनेर बुझाउनुपर्ने अवस्था आउने रहेछ । भारत र नेपाल एउटै–एउटै हो भनेर धेरै झुक्किने रहेछन् ।
फिल्मका लागि नेपाल एकदम भर्जिन छ । विषयवस्तु र भौगोलिकताका हिसाबले पनि जोडिएको छैन । विदेशीहरूलाई नेपालप्रति निकै कौतूहल र जिज्ञासा छ । फिल्म हेरिसकेपछि मैले ‘त्यही नै मेरो देश हो’ भनेर चिनाइरहँदा धेरैले आश्चर्य मुद्रामा हेरे र घुम्न आउन मन लागिरहेको बताए ।
‘द एट माउन्टेन्स’ मा नेपालको एउटी केटी, जो एक्लै भ्रमण गर्न हिँडेकी छे । उसैलाई नेपाल घुम्न आएको फिल्मको मुख्य कलाकारले भेटिसकेपछिको यात्रामा यी दुईको सामीप्यता बढ्छ । प्रेमिल सम्बन्ध बन्छ । समग्रमा यो फिल्मले नेपाली र नेपालीपनको प्रतिनिधित्व गरेजस्तो मलाई अनुभूत हुन्छ । यो एक पुरस्कृत पुस्तकमा आधारित हो । यसका लेखक धेरैपटक नेपाल आइसकेकाले पनि नेपालप्रतिको बुझाइ प्रस्ट छ ।
ती लेखक कान्समा पनि आएका रहेछन्, भेटघाट भयो । प्रेस मिटमा फिल्मका मुख्य कलाकार अघि बसेका थिए । म पछाडि कुनातिर थिएँ, त्यतिखेर पनि हो मलाई नेपाल सानो महसुस भएको । त्यहाँ नेपाल कस्तो लाग्यो भनेर प्रश्न
उठ्यो । दुई जना बूढाबूढीले फिल्म मेकरलाई ‘नेपालमा अझै पनि आमाबाबुसँग छोराछोरी बस्छन्, त्यहाँ घुम्न जानुभयो भने मान्छेहरू खुसी पाउनुहुन्छ, उनीहरूको सभ्यता अझै पनि छ, परिवार भन्ने चीज छ, एकअर्कामा सहयोगी भावना छ’ भनेर मज्जाले वर्णन गरिदिए । एक हिसाबले त त्यो हो पनि र होइन पनि भन्ने भयो । किनभने हामीमा अहिले कताकति पश्चिमा हावाले पनि छुन थालेको छ ।
नेपालको उत्कृष्ट चीज प्रकृति पनि हो । यो अतुलनीय छ । अर्को, यहाँको मानव सभ्यता । हामी एकदम सहयोगी रहेछौं । त्यसको प्रतिनिधित्व पुस्तकले गरिदिएकाले फिल्म पनि रुचाइयो ।
कान्समा मुभी प्रिमियर र मार्केट सेक्सन भन्ने हुँदोरहेछ । त्यहाँ विभिन्न देशका मान्छे आउने रहेछन्, आ–आफ्ना क्याम्प लगाएर फिल्म प्रचार गर्न र म्युजिक बेच्न । त्यो मूलतः कलाको बजार हो । आफ्नो उत्पादनलाई कसरी बेच्ने भन्ने कौशल पनि हुनुपर्ने रहेछ, बनाएर मात्रै हुँदैन । यस्ता फेस्टिभलमा अवार्ड पाउने फिल्मले विश्व यात्रा गर्ने नै भयो । यो कला मात्रै नभएर मूलतः व्यापारमा बदलिन्छ । फिल्मले देशको अर्थतन्त्रलाई पनि सहयोग गर्छ ।
त्यहाँ मैले अरू देशका सिनेमा पनि हेर्ने मौका पाएँ । जापान, दक्षिण अफ्रिका, सिंगापुरजस्ता एसियाली मुलुककै उपस्थिति पनि सानदार रहेछ । बलिउडको अझै अलि ठूलो उपस्थिति देखें, तर नेपाल त्यसमा परेन । नेपाल किन छैन भनेर सोच्दा नेपालले आफ्नो कथामा गर्व नै गरेन । एउटा सानो सामान्य घरको स्टोरी पनि मैले देखाउन सकेँ भने त्यो ठूलो स्टोरी हो, त्यो विश्वले रुचाउँछ है भन्ने विश्वास छैन आफैंमा । हामीहरूलाई विदेशी शैली नक्कल गर्नु छ, पश्चिमाजस्तै हुनु छ, आधुनिक बन्नु छ । त्यही चीज पनि हामीले उपयुक्त ढंगले देखाउन सक्दैनौं किनभने नक्कल पनि त्यो स्तरको हामीले गर्न सक्दैनौं । त्यसैले हामी खिचडीजस्ता भयौं, न यताका न उताका ।
कति जना ‘नेपाल भारत नै होइन र ?’ भनेर झुक्किँदा मलाई त्यो महसुस भयो । बलिउडको डान्स, फाइटको आफ्नै मसलेदार शैली छ । हाम्रो पनि त्यस्तै हो, तर त्योभन्दा अलग कसरी देखिने भन्ने नेपाली फिल्मकर्मीले बुझ्नु जरुरी छ । हाम्रो व्यक्तित्व के हो भनेर खोजिनुपर्छ । जस्तो ः मैले इरानी फिल्म हेर्दा यो इरानी, कोरियन हेर्दा यो कोरियन भन्ने स्वतः आभास हुन्छ । उनीहरूले आफ्नै किसिमको अर्ग्यानिक कथा बनाएका छन् । ती फिल्म हेर्दा साउथ कोरियामै गएको या इरानमै गएको महसुस हुन्छ । कान्समा उत्कृष्ट नायिकाको अवार्ड जितेको अली अब्बासीको इरानी फिल्म ‘होली स्पाइडर’ ले त्यहाँ ७ मिनेटको ‘स्ट्यान्डिङ अभेसन’ पायो । त्यो त्यहाँको रियल स्टोरी रहेछ, जहाँ वेश्याहरूलाई एउटा सिरियल किलरले मारेको कथा छ । त्यो फिल्म इरानमै चाहिँं प्रदर्शनमा प्रतिबन्ध लगाइएको रहेछ । तर, उनीहरूले कान्समा देखाए । वाहवाही बटुले ।
यसकारण पनि लाग्यो– कान्स यस्तै विद्रोही फिल्मकर्मी मिलेर बनेको ठाउँ हो । हाम्रो नेपालमा प्रकाश सपुतको ‘पिर’ मा एउटा सानो यौनकर्मीको दृश्य राख्दा राजनीतिक मुद्दा बन्यो । जबकि त्योभन्दा भयंकर कुरा कान्सजस्ता प्लेटफर्ममा त्यसरी कदर गर्दा रहेछन् । यस्ता फेस्टिभलले भन्दा रहेछन्– तपाईंको देशमा कुण्ठित भएका विचारहरू हामीलाई सुनाउनुस्, हामी त्यसलाई एप्रिसिएट गर्छौं, वास्तविकता देखाउन हामी डराउँदैनौं । कला भनेको कताकता विद्रोह पनि त हो ।
विश्वका फिल्महरू यहीँ बसेर इन्टरनेटबाट हेर्नु र कान्समा गएर हेर्नुमा निकै फरक रहेछ । युट्युब र हलमा गएर हेरेजस्तो फरक । हलमा गएर फिल्म हेर्दा धेरै दर्शक हुन्छन्, इनर्जी सेयर हुन्छ । त्यहाँ एकले अर्कालाई कदर गर्ने माहोल अन द स्पट बनिरहेको हुन्छ । त्यहाँ इमोसनको लेभलै अर्कै हुन्छ । विभिन्न देशका मान्छेसँगै बसेर फिल्म हेर्दा अर्को देशको व्यक्तिले कसरी सोच्दो रहेछ, त्यो हेर्न पाइने । ऊ के कुरामा हाँस्यो, के कुरामा गम्भीर बन्यो भन्नेले पनि फिल्म निर्माणमा आइडिया हुने रहेछ । अडियन्ससँग बस्दा ऊ के कुरामा रोयो, के कुरामा रोएन भनेर इमोसन एक्स्पेरिमेन्ट गर्न पाइयो, ग्लोबल अडियन्स बुझ्न पाइयो । घरमै बसेर हेर्दा त अडियन्स बुझ्न पाइँदैन । फिल्म विश्लेषण गर्न सकिन्छ, मेकिङमा सकिएला, तर त्यो मेकिङले अडियन्सलाई कसरी प्रभाव गर्छ भन्ने थाहा हुँदैन । त्यसैले फेस्टिभलहरू भइरहनुपर्छ । त्यसले कम्तीमा अरुको माइन्डसेट बुझ्न पाइयो । फेस्टिभलमा हामी पुग्नुपर्छ ।
रेड कार्पेट फेसनका लागि फोकस रहेछ । रेड कार्पेटमा सबै क्यामरा एउटै स्पेसमा जम्मा हुन्छन् । त्यहाँ तपाईंलाई अटेन्सन लिन मन छ, विद्रोह गर्न मन छ, केवल हिँड्न मन छ, या सुन्न मन छ, त्यो ५ मिनेटमा पाइँदो रहेछ । म मेरो टिमको मेम्बर भएर हिँडेको थिएँ । कति जना त यो नेपाली हो कि, यिनीहरूमध्येकै कोही भनेर कन्फ्युज देखिन्थे । अनुहारले पनि उनीहरू मसँग बोल्दा आफ्नै भाषामा बोलिरहेका थिए । ‘एट माउन्टेन टिम’ले मलाई आफ्नो परिवारजस्तै अनुभूति दिलाए ।
नगएको भए धेरै कुरा मिस हुन्थ्यो । कान्सले मलाई चिनाइदियो । भोलि विदेशी फिल्ममा काम गर्न नेटवर्किङ पनि भयो । आफूले नेपाली फिल्म बनाएर त्यहाँ जान सकेको भए त झन् राम्रो हुने थियो । त्यस्तो भएको भए म मेरै भाषाको फिल्म देखाउथेँ, मेरै मान्छेहरूको सर्कलमा बस्न पाउँथेँ । टिममा हाम्रो रिप्रिजेन्टेसन हुन्थ्यो होला । ‘आमा’ फिल्म गएको भए ! त्यो मलाई खुब मिस भएको थियो । त्यो नेपालको अर्गानिक स्टोरी हो । नेपालको संस्कृति र अस्पतालहरूको बेथितिबारे फिल्मले बोलेको छ । त्यो स्टोरी उनीहरूले रुचाउँथे होलाजस्तो पनि लाग्यो ।
‘आमा’ प्रिमियर हुनेलायकको फिल्म थियो । फिल्म बनाउँदा फेस्टिभल टार्गेट गरेर पनि बनाउनुपर्ने रहेछ । नेपालमा भन्ने कथा नै फेस्टिभलले छान्छ भन्ने ग्यारेन्टी हुन्न । फेस्टिभलले यहाँका व्यावसायिक शैलीका फिल्म लिँदैनन् । जनरा आर्टिस्टिक हुनुपर्‍यो । हामीले त्यो क्राइटेरिया मिट गर्न सकेका छैनौं, स्टोरी टेलिङमा पनि ।
हामी एउटा सानो पोखरीमा व्यावसायिक भइरहेका छौं । तर, हाम्रा दर्शकश्रोता यहाँ मात्र होइन, बाहिर पनि छन् । फिल्मको बजार संसारभरै हुन्छ । सबैले बुझ्ने भनेको मानवीय संवेदना हो । भाषा मात्रै होइन । त्यसको तहलाई केलाउन सक्नुपर्‍यो । रचनात्मक बन्नुपर्‍यो । त्यसैले हामीले आफ्नो कथा भन्नचाहिँ छुटाउनुभएन ।
हामीले फिल्ममा सांस्कृतिक विविधता समेट्नै सकेका छैनौं । पहिले आफ्नो संस्कृति बुझ्नुपर्‍यो । हामीले त सामान्य मान्छेले नदेखेका विषय देखाउने हो । यस्ता सक्षम मान्छेहरू हामीकहाँ अझै राम्ररी आइसकेजस्तो लागेन मलाई । स्टोरी भन्ने आइडिया, प्याटर्न र स्किलमै अलिकति परिवर्तन गर्नुपर्‍यो । सहकार्य गरौं भन्ने संस्कार भने हामीमा खासै छैन ।
हाम्रा कलाकारको अभिनयलाई नराम्रो भन्न मिल्दैन । तर, हामी आफूलाई जबरजस्ती प्रमाणित गर्न अभिनय गरिरहेका छौं । कथालाई आत्मसात् गरेर अभिनय गर्ने कलाकार नै मैले कम भेटेँ । उनीहरूचाहिँ अभिनयबाट स्टोरी पनि भन्छन्, अभिनय मात्रै देखाउँदैनन् । स्टोरीमा प्रतिबद्ध हुन्छन्, एक प्रकारले स्टोरीप्रति सरेन्डर गरेका छन् । उनीहरू र हामीमा एउटा फरकचाहिँ यो पनि देखिन्छ ।
सूत्र ब्रेक गर्न सक्ने मान्छे प्रायः कान्समा पुग्दा रहेछन् । सूत्रभन्दा बाहिर जान सक्ने, विद्रोह गर्न सक्ने । व्यावसायिक हिसाबले सूत्रमै जाँदा पनि ठीक त छ, तर कहिलेकाहीँ सूत्र ब्रेक गरेर फेस्टिभलहरूमा पुर्‍याउन सकियो भने अझै राम्रो हुने रहेछ ।
कान्सजस्ता विश्वस्तरका फेस्टिभलका मापदण्ड पछ्याउन हामीलाई झन्झटिलो लाग्दो रहेछ । त्यो बुझ्न सक्यौं भने हामी धेरै जना त्यहाँ जान सक्छौं । सर्ट आउट गरेका मान्छेहरू टाकनटुकन पारेर गइहाल्छन् । अनुभवले आइरहेका मेन स्ट्रिमका जान सकिरहेका छैनन् । त्यो नजानेर जटिल भएको छ । अथवा त्यहाँ जान सक्छु भन्ने कन्फिडेन्स पनि नभएको हो कि हामीमा ? यसका लागि हामीले एउटा संयन्त्र नै बनाउनुपर्छ, जसले ती प्रक्रियाहरू बुझेर सहायता गरोस् ।
चलचित्र विकास बोर्ड त यसका लागि जिम्मेवार नै छैन । यसमा बोर्ड नै माध्यम भएर उसले नीतिगत तहम्म पुर्‍याउन सक्नुपर्ने हो । बोर्डले हामीलाई बोलाएर के–के समस्या पर्‍यो, के गर्नुपर्ने रैछ त भनेर कुराकानी गर्नुपर्ने हो । कि त उनीहरू राजनीतिक छन्, या उनीहरूले यसको भ्यालु बुझेका छैनन्, मलाई थाहा छैन । जस्तो ः ब्युटी पेजेन्टका लागि हिडन ट्रेजर भन्ने एउटा सानो संस्थाले प्रतियोगीको यात्रा, उनीहरूको बसाइ, फोटो, विज्ञापन सबैको तारतम्य मिलाइदिन्छ । त्यस्तै फिल्म पनि फेस्टिभलमा जाँदा उनीहरू राष्ट्रको पहिचान भएर गएका हुन्छन्, देशका लागि दूत भएर गएका हुन्छन्, त्यसमा देशको चासो हुनुपर्‍यो । त्यस्तो संयन्त्रले जान सहयोग गरोस्, सिस्टम बनाइदेओस् । मेरै सहभागिताको सवालमा, मैले विकास बोर्डलाई ‘कान्स जाँदै छु’ भनेर जानकारी गराएको थिएँ, तर त्यस्तो सहयोग केही पाइनँ ।
हलिउड, बलिउडका कलाकारमा हामीसँग भन्दा बढी आत्मविश्वास हुँदो रहेछ । म आफैं संघर्ष गरेर गएको हुनाले ममा अलि नभएको होला । मलाई देशको साथ छ भन्ने फिलिङ भएको भए त्यो आत्मविश्वास हुने रहेछ । ममा केही आइडिया थिएन । गाइडेन्स गर्ने कोही भएन । म पछाडिबाटै हेर्छु, अगाडि जान्न भन्ने किसिमको अवस्था थियो । उनीहरूलाई राष्ट्रको साथ थियो, त्यो उनीहरूको व्यवहारमा झल्किन्थ्यो । आत्मविश्वास त ममा थियो होला, तर त्यतिले मात्रै नहुँदो रहेछ ।
यहाँ मेरो करिअर, मेरो रोल मेरो कन्ट्रोलमा भएजस्तो लाग्दैन । तर, मेरो अभिनयलाई मैले कसरी सुधार गर्न सक्छु, ‘बिटविन द लाइन’ मा कसरी काम गर्न सक्छु, इमोसनको गहिराइलाई कसरी व्यक्त गर्न सक्छु ? भन्नेमा मेरो कौतूहल बढेको छ । किनभने अरू कलाकारको प्रस्तुति हेर्न पाएँ । भाषाको कुरा गरौं, सबै नेपाली कलाकारले अंग्रेजी बोल्न सक्छन् भन्ने छैन । हाम्रा कलाकारलाई भाषाका लागि सहयोग गर्ने अनुवादक भइदिए अलि सहज हुने वातावरण देखेँ । हामीलाई केही कुरामा अन्योल भयो भने ‘मेरो यो सेक्सन हेर्ने यो मान्छे छ’ भन्ने भइदियो भने आत्मविश्वासको तह बढ्ने रहेछ ।
उनीहरू सबटेक्स्टमा खेलेर सिनेमा बनाउँदा रहेछन्, हामीभन्दा धेरै इमोसनल लाग्यो । कलालाई हामीले भन्दा धेरै रेस्पेक्ट गरेझैं लाग्यो । कलाकार लाई एकदम धेरै सम्मान गर्छन् उनीहरू । फलाना देशको कलाकार भनेपछि हाम्रो देश, संस्कृतिबारे बुझ्न खोज्ने, ‘तपाईं नेपालको हो ?’ भनेर आश्चर्यजस्तो प्रकट गर्ने । कोही त हामीजस्तै अलमलमा पनि पनि छन् । कति देशबाट पहिलोपटक आउने पनि थिए । कतिपय अफ्रिकन वा बंगलादेशीहरू, मजस्तै अलि अलमलमा देखेँ ।
मलाई त्यहाँ अरू फिल्म हेर्दा कस्तो मजाले मान्छेको इमोसन बुझेको होला भन्ने लाग्यो । हाम्रोमा त जबर्जस्ती देखाइरहेको हुन्छ नि । सबटेक्स्टमा खेल्ने खुबी हामीमा अझै पुगेको छैन । हामीले अझै अभ्यास गर्नुपर्छ भन्ने लाग्यो । कन्टेन्ट त जुन पनि राम्रै हुन्छ । कथा त अहिले यहाँ बोलिराखेको विषयमा पनि बन्न सक्छ, तर हामीबीच जुन सबटेक्स्ट चलिरहेको छ, त्यो प्रस्तुति बुझ्न सक्ने क्षमता हामीमा अलि कम छ ।

ड्रेस डिजाइनर: तेन्जिङ छेतेन भुटिया
फोटो: अन्जिल मास्के