You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

नाममै अपमान

- ज्योति कटुवाल,प्रकाश बराल

(सुर्खेत/बागलुङ) - नागरिकताबिना कुनै सरकारी काम हुँदैन तर दैलेखको दुल्लु नगरपालिका–१ निवासी ३५ वर्षीय कुलबहादुर बादीलाई आफ्नै नागरिकता बोकेर हिँड्दा अपमानबोध हुन्छ । नहोस् पनि किन, २०४४ सालमा जन्मेका कुलबहादुरको नागरिकतामा नाम, थर ‘फ्याउरो बादी’ लेखिएको छ । कुनै निरक्षर नागरिकको नाम
‘फ्याउरो’ लेखेर नागरिकताको कार्ड तयार भएपछि सोधखोज गर्नुपर्ने दायित्व ‘शिक्षित’ सरकारी अधिकारीको हो । तर, २०६४ मा बनाएको नागरिकतामा शाखा अधिकृत मेघनाथ पाध्याले निर्धक्क हस्ताक्षर धस्काएका छन् ।
कुलबहादुरको जस्तै समस्या श्रीमती मदनालाई पनि छ । किनकि उनको नागरिकतामा ‘हाकिम’ ले मदन लेखिदिए । बाबुको नाम फ्याउरो र आमाको नाम मदन भएको विषयमा नाबालक छोरा दीपेशले महँगो मूल्य चुकाउनुपरेको छ । ‘सबैले बाआमाको नाम लिएर जिस्क्याउँछन्, हेप्छन्, तेरा बाउको नाम के रे ? आमाको नाम के रे भनेर सताउँछन्, त्यसैले म त स्कुल जानै छोडिदिएँ,’ उनले भने । दीपेशका जेठा दाजु प्रकाश यही यातना छल्न गाउँको स्कुल छाडेर सुर्खेत झरेका छन् । नागरिकता टोलीलाई मदनाले सही नाम नै भनेकी थिइन् । तर असंवेदनशील टोलीले मदन लेखिदियो, यो पनि उनले धेरै पछि मात्रै थाहा पाइन् । जसका कारण उनले पाइलापाइला सफाइ दिनुपर्ने परिस्थिति बनेको छ । अझ श्रीमान्लाई झनै आपत् परिरहेको उनी बताउँछिन् ।
‘गाउँसमाजमा मेरा श्रीमान् अरूसँग बोल्न पनि सरम मान्छन्, ठूला हाकिमले हामी साना मान्छेलाई जे भने पनि भयो भनेर नाम बिगारिदिएका हुन् तर यसले हाम्रा बच्चाहरूलाई पनि पिरोलेको छ,’ उनी भन्छिन् । उता, कुलबहादुर पनि सामाजिक भेला हुने काममा श्रीमती पठाउने गरेका छन् । ‘फ्याउरो भनेर कसरी चिनिने ? त्यसैले सामाजिक काममा बड्डीलाई पठाउँछु,’ उनले भने ।
रुकुम पश्चिम आठबिस नगरपालिका–३ का एक नागरिकको प्रमाणपत्रमा त ‘कुत्ता बादी’ लेखिएको छ । ६१ वर्षीय उनी आफ्नै नागरिकताका कारण अपमानित छन् । दुर्गम भेग र निरक्षर पृष्ठभूमिका उनलाई आफ्नो असली नाम के थियो भन्ने पनि थाहा छैन । नागरिकतामै लेखिएको नाम काढेर उनलाई स्थानीयले बोलाउँछन् । तर उनी विरोध गर्न सक्दैनन् । कथित तल्लो जातका मानिसलाई हेयको दृष्टिले राखिदिएका नाममा सरकारी अधिकारीले ठप्पा लगाइदिए, जसले एक नागरिकको स्वाभिमानमा चोट लागेको छ ।
उनको पारिवारिक वियोग पनि दुःखदायी छ । १० छोरा र २ छोरी जन्माए पनि ११ जनाको सानैमा मृत्यु भयो, उनले एक छोरीलाई मात्र हुर्काउन पाए । केही वर्षअघि श्रीमती पनि गुमाएपछि उनको दुःख थपिएको छ । २०१८ सालमा जन्मेका उनले २०४४ माघ २७ मा नागरिकता बनाएका हुन् जसमा सरकारी अधिकृत दयाराम शर्माको हस्ताक्षर छ । ‘हामी त पहिलाका जमानाको नपढेको मान्छे । नागरिकता बनाउन आउने मान्छेले आफूखुसी नाम राखिदिएछन्,’ उनले दुःखको भावमा सुनाए, ‘जातले त हामीलाई तल्लो बनाइएको छ, नाम पनि तल्लै बनाएछन् ।’
दैलेखको नारायण नगरपालिका–१० ग्वात्तीका ६५ वर्षीय अर्का नागरिकको नाम ‘सिँगाने कामी’ लेखिएको छ । नागरिकको नाम ‘सिँगाने’ लेखिदिने हाकिमले लाज मान्नुपर्ने हो तर अपमानित छन् सर्वसाधारण । पहिले–पहिले त उनलाई नागरिकतामा लेखिएको नामले
खासै पिरोल्दैनथ्यो तर हेपेरै यस्तो नाम राखिदिएका हुन् भन्ने जागरण आएको छ, त्यसैले आक्रोशित हुन्छन् । सानो छँदा धेरैजसो बालबालिकाजस्तै उनको पनि सिँगान धेरै आउने भएकाले घर समाजले सिँगाने भनेर बोलाउँथे भन्नेसम्म उनलाई सम्झना छ । तर नागरिकतामै यही नाम लेखिएको छ भन्ने उनले धेरैपछि थाहा पाए । २०४४ सालतिर गाउँमा जनगणना गर्न आउँदा उनका छिमेकीले टिपाएको नामका आधारमा नागरिकता बनेको उनले सुनाए ।

नामकै कारण हिजोआज उनलाई गाउँघरतिर हुने भेला र कार्यक्रममा जान मन लाग्दैन । ७ छोराछोरीले पनि आफ्नो नामकै कारण अपमानित हुनुपरेको उनी बताउँछन् । उनका छोराछोरीले शिक्षा आर्जन गर्न पाएका थिएनन् । जेठी छोरी प्रौढ शिक्षा पढ्न जान थालेकी थिइन् तर सबैले सिँगानेकी छोरी भनेर जिस्क्याएपछि उनले यो अवसर पनि छाडिदिइन् । तीन दशकभन्दा धेरै समय भारतको गुजरातमा बिताएका बेला उनले नामका कारण उस्तो धेरै अपमान खेप्नुपरेन । किनकि उनले काम गर्ने घरका सेठले उनको नाम सुरेन्द्र राखिदिएका थिए । गाउँ फर्केपछि भने उनले नामकै कारण हरेक पाइलामा अपमान खेप्नुपरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका–४ बिसौनाका हस्तराम कामी समाजबाट सताइएका छन् । निरक्षर उनले केही समयअघि मात्रै थाहा पाए, आफूले सावित्रा भनेर बोलाउने श्रीमतीको नागरिकतामा नाम त ‘कुकुर्नी कमिनी’ राखिएको रहेछ । २०२३ सालमा म्याग्दीको बाबियाचौरमा जन्मेकी सावित्रीले २०४८ सालमा गाउँमा घुम्ती शिविर आएका बेला नागरिकता बनाएकी थिइन् । बोल्न र सुन्न नसक्ने सावित्राले विरोध गर्न सकिनन् तर छिमेकीको नाममा ‘कुकुर्नी’ नाम राखिदिँदा कसैले पनि विरोध गरेनन् । उनीहरूका जेठा छोरा भविलाल ३० वर्षका पुगे । कक्षा ५ मात्रै पढेका उनी अहिले वैदेशिक रोजगारीका लागि साउदी अरब छन् । उनको नागरिकतामा भने बाबुको नाम हस्तराम र आमाको नाम भने सावित्रा नै छ ।
नागरिकताका आधारमा बनेको मतदाता परिचयपत्रमा समेत ‘कुकुर्नी’ राखिएको छ । कान नसुन्ने र बोल्न नसक्ने बहुअपांगता भएकी सावित्रालाई त यो अपमानका विषयमा अहिले पनि उति जानकारी छैन । तर विभिन्न तहमा उम्मेदवार बन्ने नेता र तिनका लागि मत माग्ने कार्यकर्ताले यो विषयमा चिन्ता गरेका छैनन् । नामकै आधारमा श्रीमतीको अपमान भएकाले हस्तरामले वडाध्यक्ष जितबहादुर खत्रीसँग अनुरोध गरेका थिए । ‘छोराछोरीको नागरिकता पनि बनिसक्यो अब किन सच्याउनुपर्‍यो, पर्दैन भनेर फर्काइदिनुभयो ।’ वडाध्यक्ष खत्रीले भने नामका विषयमा आफूले जानकारी पाए पनि उनीहरूसँग भेट नभएको दाबी गरे । ‘उहाँहरूलाई भेटेर कुरा गर्छु, संशोधन गर्दा धेरै समस्या आउन सक्छन्, के गर्न सकिन्छ, छलफल गरौंला,’ उनले भने, ‘नाम भने अपमान हुने खालको छ ।’ प्रमुख जिल्ला अधिकारी रमेश ढकालले नागरिकता संशोधन गर्न म्याग्दीदेखिकै कागजात मिलाएर आउनुपर्ने बाध्यता सुनाए । ‘नामै संशोधन गर्ने कानुन छैन, गृहको केही परिपत्र भए मात्रै हो,’ उनले भने ।
दैलेखमै २०१७ पुस २५ मा जन्मिएका कविराम विकले २०४६ जेठ ७ मा तत्कालीन मेहेलतोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता पाए तर नाम लेखियो– कुकुर कामी । नागरिकको नाम ‘कुकुर’ लेखिदिएर सरकारी अधिकारी दुर्गाप्रसाद गिरीले हस्ताक्षर गरेका छन् । नागरिकता दिँदा असली मान्छे र नाम हो कि होइन भनेर सबैलाई केरकार गर्ने ‘हाकिम’ ले कुनै नागरिकको नाम ‘कुकुर’ कसरी हुन सक्छ भनेर सोच विचार गरेनन् जसले गर्दा कविरामको प्रतिष्ठामा हस्तक्षेप भएको मात्र होइन, उनका छोराछोरीको नागरिकताको हक पनि कुण्ठित भएको छ । बाबुको नाम अपमानजनक भएकैले उनका ७ मध्ये २ सन्तानले मात्रै नागरिकता बनाएका छन् । अन्यले भने बाबुको नाम ‘कुकुर’ राखेर नागरिकता नलिने अडान लिएका छन् ।
आमाले ‘तेरो राशिको नाम कविराम हो’ भनेको उनलाई अहिले पनि याद छ । ‘तर, नागरिकता बनाइदिनेले जनावरको नाम राखिदिएछन् । नामकै कारण सन्तानले नागरिकता बनाउन सकेका छैनन् । नामको इज्जत कति रहेछ भन्ने हामीलाई थाहा भयो तर सरकारी हाकिमलाई के चासो ?’ उनी खिन्न मान्छन् ।
निरक्षर कविरामले आफ्नो नागरिकतामा अपमानजनक नाम लेखिएको पनि धेरै पछि मात्रै थाहा पाए । बिहे दर्ता गर्न तत्कालीन गाविस कार्यालय पुगेपछि आफ्नो नागरिकता हेरेर कर्मचारी हाँस्न थालेको उनले सुनाए । ‘म मान्छ्या अनपढ हुँ, बिहे दर्ता गर्न जाँदा सबै कर्मचारी हाँस्न थालेपछि पो मेरो नाम कुकुर लेखिएको रहेछ भन्ने थाहा भयो,’ उनी भन्छन्, ‘हाकिमहरूलाई हाँसो मजाक भयो, हामीलाई भने चोट परेको छ ।’ यही कारण उनकी ६० वर्षीया श्रीमती शिला गाउँघर र माइतमा समेत खुलेर हिँड्न अप्ठ्यारो मान्छिन् । ‘बड्डा पनि आफ्नो नाम थाहा पाएको दिनबाट घरबाहिर निस्कन गाह्रो मान्छन्,’ उनले भनिन् । कविराममाथि हुने खिसीटिउरीले बुहारी निशा अपमानित हुनुपर्छ । उनले प्रौढशिक्षा सुरु गरेकी थिइन् । तर ‘कुकुरे कामीकी बुहारी आई’ भन्दै अपमान भइरहेपछि कक्षा छोडिन् ।
रुकुमको चौरजहारी नगरपालिका प्रमुख पुष्प बादी नामका कारण दलितहरूले अपमान भोग्नुपर्ने परिस्थितिमा ठूला जातका सरकारी अधिकृतहरू जिम्मेवार भएको बताउँछन् । हाकिमहरूले आफ्नो नाम रामबहादुर लेख्ने तर तल्लो जातिका मानिसको नाम रामे राखिदिने गरेको उदाहरण उनले दिए । ‘नामले नै मान्छेको आत्मसम्मानमा कति असर पार्छ, त्यो त भोग्नेलाई थाहा हुन्छ,’ उनले भने, ‘नामकै कारण अपमान भोगेकाहरूलाई न्याय दिलाउन सरकारले नागरिकता ऐनसमेत बदल्नुपर्छ,’ उनी भन्छन् ।
कर्णाली प्रदेशसभा सदस्य छन् रातो कामी । उनी राजनीतिक रूपमा सचेत भएकाले धेरैले आरटी सर वा आरटी कामरेड भनेर बोलाउँछन् । २०५४ सालमा माओवादीमा प्रवेश गरेर भूमिगत भएपछि उनलाई आरटी भनेर बोलाउन थालिएको हो । आफूअघिका ९ जना जन्मिँदै मर्ने भएकाले १० औं स्थानमा जन्मिएपछि आमा र बाले रातो कामी नाम राखिदिएको उनको भनाइ छ । ‘मलाई फरक नपरे पनि घर, समाज र साथीभाइलाई मेरो नाम उच्चारण गर्न समस्या हँॅदो रहेछ, त्यसैले आरटी भन्छन्,’ उनी भन्छन् ।
नागरिकता टोलीमा आउने कथित माथिल्लो जातका अधिकारीले दलितहरूको नाम बिगारिदिएर अपमान गरेको उनको भनाइ छ । रुकुममा कुत्ता बादी, नौपुठे कामी, ढाले कामी, गाइने, काली गासे, गोप्लो, लाटो, लुखुरी, ठुम्री कामीजस्ता नाम रहेको उदाहरण सुनाउँदै उनले प्रश्न गरे, ‘प्रयोग गर्न नै नसक्ने खालका नाम नागरिकतामा राखिदिनु मानवको अस्तित्वलाई अस्वीकार गर्नु हो ।’
सुर्खेतका अधिवक्ता दुर्गा सापकोटाले नागरिकता टोलीमा खटिएका कर्मचारीको असंवेदनशीलता जिम्मेवार रहेको बताए । ‘दलित मात्रै हैन, अन्य जातिका मानिसहरूका नाममा पनि यस्तो लापरबाही भएको छ,’ उनले भने, ‘पहिलाका जमानामा छोराछोरी जन्मिँदै मर्ने भएपछि तल्लोस्तरको शब्दको नाम राखेपछि बाँच्छन् भन्ने थियो । तर त्यही आधारमा कतिपयको नागरिकतामा नाम राखिएको छ, नागरिकता टोली संवेदनशील भएको भए नाम यस्ता हुँदैनथे ।’
दलित अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था साझामञ्च नेपाल कर्णाली प्रदेश अध्यक्ष वसन्त विक दलितमाथि हरेक शैलीबाट अमानवीय व्यवहार भइरहेको बताउँछन् । भन्छन्, ‘गाउँका मानिसहरू अनपढ भए पनि सरकारी कार्यालयमा काम गर्ने कर्मचारी त पढे–लेखेका हुँदा हुन् नि,’ उनले भने, ‘तर राज्यबाटै नागरिकको अनादार भएको छ ।’
कर्णाली प्रदेशसभा सदस्य झोवा विक दलितमाथि धेरै शैलीले विभेद भइरहेको र अपमानजनक नाम पनि त्यसैको एउटा शृंखला भएको बताउँछिन् । दलितहरूले जातका कारण मात्रै होइन, नामका कारण पनि विभेद र हिंसा भोग्नुपरेको उनको भनाइ छ । उनले बुबाको नाम तुले छ भने छोराको जुठे र छोरीको जुठेनीसमेत राखिएको उदाहरण दिइन् ।
दलित अनुसन्धानकर्मी शिवहरि ज्ञवाली दलितको नामकरणमा अपमानको राजनीति हुने गरेको बताउँछन् । दलितको मानमर्दन गर्ने, स्वाभिमान उठ्न नदिने र शासन गर्ने तरिकाले अपमानजनक नाम राखिने
गरेको उनको भनाइ छ । ‘दलितको नाम सम्मानजनक हुनुहुँदैन भनेर नियोजित तरिकाले यस्ता नाम राखिएको हो,’ उनी भन्छन् ।
ज्ञवालीले गरेको अध्ययनमा दलितहरूलाई ‘मांगलिक नामकरण’ नाम राख्न संस्थागत रूपमै निषेध गरिएको थियो, त्यस्तै आफ्ना सन्तानको नाम आफैं राख्न पनि उनीहरूलाई बन्देज थियो । कथंकदाचित् ‘मंगलवाचक’ नाम राखिएमा दण्डको व्यवस्थासमेत हुने गरेको विगत उनले उतारेका छन् । ‘शासन र प्रशासनमा एकछत्र राज गरेका कथित उच्च जातका अधिकारीहरूले प्रेमलाई प्रेमे, पराने, वीरलाई विर्या, रामलाई रामे बनाइदिएका उदाहरण प्रशस्त छन्,’ उनले भने ।

मुख्य पृष्ठ

संसदीय चुनावका लागि ११६ दल योग्य

- मकर श्रेष्ठ

(काठमाडौं) - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ता
प्रक्रिया सुरु गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनमा भाग लिन चाहने दलले आयोगमा पुनः दर्ता गर्नुपर्ने हुन्छ ।
दल दर्ताका लागि आयोगले साउन ३१ सम्मको समय तोकेको छ । आयोगमा बिहीबारसम्म १ सय १६ दल दर्ता भएका छन् । स्थानीय तह निर्वाचनपछि चारवटा दल थपिएका छन् । आयोगमा दर्ता भएका सबै दलले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन आयोगमा फेरि नाम दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा २७१ अनुसार निर्वाचनमा मान्यता प्राप्त गर्नका लागि दल दर्ता गर्नुपर्ने प्रावधान छ ।
‘दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने । दुई वा त्योभन्दा बढी दलले गठबन्धन गरेर एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिन सक्ने पनि आयोगले स्पष्ट पारेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधान कार्यान्वयन गर्न एकल
चिह्नमा निर्वाचनमा भाग लिन सक्ने जानकारी आयोगले दलहरूलाई गराएको हो । ऐनअनुसार कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै नयाँ चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्छन् ।
गठबन्धन गरेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने खुलाउनुपर्ने हुन्छ । यसरी निर्वाचनमा सहभागी भएपछि त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ । संयुक्त रूपमा निर्वाचनमा सहभागी भएका अन्य दलको प्रत्यक्ष र
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूलाई त्यही संसदीय दलको सदस्य मानिने कानुनी प्रावधान छ ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विवरण, उम्मेदवारी दिने जिल्ला, पछिल्लो ५ वर्षभित्र महाधिवेशन भएको मिति र स्थान, दलको दर्ता मिति, महाधिवेशनबाट निर्वाचित र मनोनीत पदाधिकारीको नाम पेस गर्नुपर्ने हुन्छ । त्यस्तै दलको केन्द्रीय कार्यालयको चल–अचल सम्पत्ति विवरण बुझाएको मिति, सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा अभिलेख राखे/नराखेको, दलको कार्यालयले सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, सदस्यको नाम प्रकाशन गरे/नगरेको, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पनि निवेदनमा खुलाउनुपर्ने हुन्छ ।

त्यस्तै दलले ०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।
०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा गाभिनुपूर्वको प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ०७७/७८ मा गाभिएर नयाँ कायम भएको दलले ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा पुरानो अलग–अलग पार्टीको लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । दल दर्ताका लागि निवेदन पेस गर्दा दलको विधान र नियमावली लोकतान्त्रिक हुने, कम्तीमा ५ वर्षमा एक पटक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारी निर्वाचन भएको हुने, कार्यकारिणी समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था गरिने सर्त पूरा गर्ने प्रतिबद्धता जनाएको पत्रसमेत पेस गर्नुपर्ने हुन्छ । दल दर्ता गर्न आयोगले उपलब्ध गराउने रुजुसूची भरेर प्रमुख पदाधिकारीले प्रमाणित गरी पेस गर्नुपर्ने हुन्छ । दल दर्ताको विवरण लिन आयोगमा छुट्टै डेस्कको व्यवस्था मिलाएको छ । निवेदन छानबिन गर्न कम्तीमा १० दिन लाग्ने आयोगले जनाएको छ ।
दल दर्ताको क्रममा दिने निवेदनका आधारमा आयोगले दलको निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गर्छ । समानुपातिकतर्फ पनि दलले बन्दसूचीमा नाम बुझाएको आधारमा आयोगले मतपत्र छाप्ने गरेको छ । यसपालिको निर्वाचनमा ५ सय १३ प्रकारको मतपत्र हुनेछ । प्रत्यक्षतर्फको १ सय ६५ क्षेत्र र ३ सय ३० प्रदेशको मतपत्र फरक हुनेछ । त्यस्तै समानुपातिकतर्फ प्रदेशअनुसार फरक सातवटा मतपत्र हुनेछ ।
०७४ मा निर्वाचन प्रयोजनका लागि आयोगमा ९५ दलले निवेदन दिएका थिए । निवेदन दिएकामध्ये समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले माओवादी केन्द्रको चिह्न, राष्ट्रिय नागरिक पार्टीले शिव सेना नेपालको निर्वाचन चिह्न, पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आधुनिक नेपाल पार्टीको चिह्न लिई निर्वाचनमा भाग लिएका थिए । निर्वाचनमा भाग लिन ९५ दलले निवेदन पेस गरेकामा आयोगले ९१ राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरी चिह्न प्रदान गरेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ राजनीतिक दलले मात्र भाग लिए । तीन महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६३ दलले मात्रै भाग लिएका थिए ।

मुख्य पृष्ठ

विदेशबाट फर्केर ट्याक्सी लहर

- वीरेन्द्र केसी

(अर्घाखाँची) - अर्घाका कमल भुसाल २०७४ वैशाखमा दुबईबाट चारमहिने छुट्टीमा घर फर्किए । टोलैपिच्छे बनेका कच्ची सडकमा छिटफुट ट्याक्सी गुडेको देखे । त्यसपछि उनको मन फेरियो । केही दिनमै एउटा ट्याक्सी किनिहाले । भरिभराउ यात्रु पाउन थालेपछि दुबईमा आफूले काम गर्ने कम्पनीका म्यानेजरलाई खबर गरे– अब म फर्किन्नँ । अहिले उनलाई पहाडका गाउँबस्तीदेखि काठमाडौं, बुटवल, पोखरा, दाङलगायत ठूला सहर र छिमेकी जिल्लामा ट्याक्सी दौडाउन भ्याइनभ्याइ छ ।
‘दुबईमा १३ वर्ष काम गरें, केही कमाइ पनि भयो । त्यहाँभन्दा बेग्लै आनन्द र रमाइलो त आफ्नै ठाउँमा लागिरहेको छ,’ उनले भने, ‘डाँडाकाँडा र सहरमा यात्रु बोकेर घुम्न पाइएको छ । म हाँसेरै मीठो बोलिदिन्छु, एकपटक बोकेका यात्रुले फेरि सम्पर्क गर्छन्, सबैले कमल भाइ/दाइ भनेर माया गर्छन् ।’ उनले सन्धिखर्क अस्पतालनजिकै घर बनाएका छन् । खाली समय श्रीमतीले सुरु गरेको कपडा व्यवसायमा सघाउँछन् ।
‘जिल्लाभित्र र बाहिर कतिबेला कहाँ यात्रु बोकेर दौडिनुपर्छ, टुंगो हुँदैन,’ भुसालले भने, ‘रातदिन यात्रु बोक्छु । गाडीको किस्ता, तेल, मर्मत खर्च सबै कटाएर महिनाको १ लाख रुपैयाँ बचत गरेको छु ।’ दुबईमा कमाएको पैसाले ट्याक्सी किनेका उनले अब विदेश जाने सोच नै त्यागिसकेका छन् । ‘यही व्यवसायबाट जीविका धानेर पैसा बचत भएको छ,’ भन्छन्, ‘किन जानु विदेश ?’ दुबई र मलेसियामा ६ वर्ष बिताएका नुवाकोट च्युरामाटीका राम गैरे पनि यहीं ट्याक्सी चलाउँछन् ।

आठ वर्षअघि ट्याक्सी किनेर व्यवसाय सुरु गरेका उनले पहिलो महिनामै डेढ लाख रुपैयाँ कमाए । सदरमुकामस्थित चुत्राबेंसीमा उनका बाबुले घडेरी किनिदिएका थिए । ट्याक्सीकै कमाइले एकतले घर ठड्याए । ‘सामान्य लेखपढ गर्न जानेको छु, मलेसिया र दुबईमा ६ वर्ष बस्दा दुःख पाएँ,’ उनले भने, ‘०७१ मा गाडी किनेर चलाउँदा सुरुकै महिनाबाट डेढ लाख बचत हुन थाल्यो ।’ उनी गाउँदेखि ठूला सहरसम्म यात्रु बोक्छन् । ‘अधिकांश यात्रु मेरा घनिष्ठ हुन पुग्छन्,’ उनले भने, ‘गाउँमा सामान्य किसानदेखि नेता, कर्मचारी, ठूला व्यापारी, जनप्रतिनिधिसम्म चिनजान र सम्बन्ध हुँदो रहेछ । यो व्यवसायले म उत्साहित छु ।’ उनीजस्ता धेरै युवा यो पेसाबाट खुसी छन् । ‘गाउँ छिमेकीसित दैनिक भेटघाट हुन्छ, परिवारसँगै बसेर व्यवसाय गर्न पाइएको छ,’ उनले भने, ‘विदेशमा अरूको अन्डरमा काम गर्नुपर्थ्यो । यहाँ स्वतन्त्र व्यवसाय गर्न पाएको छु ।’ ट्याक्सीको कमाइले घर खर्च, छोराछोरीको पढाइ खर्च राम्रोसँग पुगेको उनले सुनाए ।
ट्याक्सी व्यवसाय धेरै मान्छेसित परिचय हुने माध्यम बनेको बताउँछन्, सन्धिखर्कका चन्द्र थापा । ‘फोन गरेर बोलाएपछि जान्छु, खाली बस्नु पर्दैन,’ मलेसियाबाट फर्केर ६ वर्षदेखि
ट्याक्सी चलाएका उनले भने । बाल्यकालमा घण्टौं हिँड्नुपरेको गाउँका बाटोमा आफैं ट्याक्सी लिएर छिनभरमै आउजाउ गर्दा विकासमा आमूल परिवर्तन भएको महसुस गरेको उनले सुनाए । ‘छिटो र सहज यात्रा भनेर ट्याक्सी खोज्ने यात्रु धेरै छन्,’ थापाले भने, ‘पहिला थोरै गाडी हुँदा दौडधुप धेरै हुन्थ्यो, अहिले धेरै छन् । सडक भएकै कारण ट्याक्सी गुडाएर जीविका धान्ने माध्यम बन्यो ।’ सडकले विदेश जाने आफ्नो सोच बदलिदिएको उनी बताउँछन् ।
अर्घाखाँचीका सबैजसो कच्ची सडकमा ट्याक्सी चल्छन् । बर्खामा बाढीले सामान्य खाल्डाखुल्डी परेका ठाउँमा चालक आफैं बाटो मर्मत गर्छन् । यात्रु र स्थानीयले पनि बाटो बनाउन सहयोग गर्छन् । गाउँको वडास्तरीय सडक सरकारको बजेटले तथा टोलबस्ती र घरआँगनसम्म पुग्ने धेरै सडक व्यक्तिगत लगानी, रेमिट्यान्स, चन्दा र सामुदायिक वनको आम्दानीले बनेका छन् । अर्घाखाँची ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र कुँवरले जिल्लामा १ सय १० वटा कालो प्लेट, डेढ सय रातो प्लेटका ट्याक्सी चलिरहेको बताए । ‘०७० मा मैले
ट्याक्सी लिएर संस्था दर्ता गरें, ०७४ बाट व्यावसायिक रूप लियो,’ उनले भने, ‘जिल्लामा भएका ट्याक्सीमध्ये ७५ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका युवा छन् ।’ १० प्रतिशतले मात्रै ट्याक्सीमा चालक राखेका छन् । ५/६ लाख रुपैयाँ लगानी गरेर विदेश जानेले मासिक २० देखि ५० हजार कमाउने गरे पनि यहाँ गाडीबाट एक लाख प्रायःले कमाइ गरिरहेको
उनले सुनाए ।
गुल्मी सदरमुकाम तम्घासमा २० वटा ट्याक्सी, १ सयजति कार, ५० जति डबल क्याप (जिप) गाडीले यात्रु बोक्छन् । हिउँदमा प्रायः सबै गाउँ आउजाउ गर्छन् । हिउँदमा त ८० हजारसम्म कमाइ हुने तम्घासका व्यवसायी राजु श्रेष्ठले बताए । ‘गाडीमा चार यात्रु अट्छन् । गाउँका अग्ला बस्ती र ठूला सहरसम्म यात्रु बोकेर हिँड्छु,’ १० वर्षदेखि ट्याक्सी चलाइरहेका उनले भने । कच्ची सडक पनि क्रमशः ग्राभेल र कालोपत्र हुँदै गएका छन्, जसले यात्रालाई सहज बनाएको छ । उनका अनुसार दशकअघि गाउँमा कार जाँदैनथे । कच्ची सडक पनि कार हिँड्न लायक छन् । ‘विदेशबाट पैसा कमाएर फर्केका र बैंक किस्तामा गाडी किनेर जीविका धान्ने धेरै युवा छन्,’ श्रेष्ठले भने, ‘परिवारसँगै बसेर व्यावसायिक सेवा दिन पाउँदा मन खुसी छ । गाडी व्यवसायबाट धेरै युवा विदेश जान छाडेका छन् ।’

Page 2
समाचार

सल्लाहकारको बिगबिगी

- कान्तिपुर संवाददाता

 

स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत कार्यकर्ता, आफन्त र निकटका व्यक्तिलाई विभिन्न किसिमका सल्लाहकार नियुक्त गर्न थालेका छन् । स्थानीय तहको अघिल्लो कार्यकालमा जनप्रतिनिधिले सल्लाहकार लाई दिएको सुविधाबापतको रकम बेरुजु आएको थियो । पालिका प्रमुख तथा अध्यक्षले राजनीतिक, प्रेस र कानुनी सल्लाहकार नियुक्त गरेर आफ्ना नेता–कार्यकर्ता र आफन्तलाई जागिर खुवाएका छन् ।
कुनै पनि कार्यविधि र नीति–नियमबिना भर्ती गरिने सल्लाहकारले जनप्रतिनिधिलाई कस्ता सल्लाह दिन्छन् भन्ने कुराको लेखाजोखा छैन । धेरैजसो सल्लाहकार डायरी बोकेर जनप्रतिनिधिको पछि–पछि हिँड्ने मात्रै काम गर्छन् । पद सल्लाहकार भने पनि भूमिका स्वकीय सचिवजस्तो हुन्छ । हरेकजसो कार्यालयमा सर्वसाधारणले देख्ने गरी सूचना अधिकारीको तस्बिर, नाम, पद र सम्पर्क नम्बर उल्लेख गरेर बोर्ड राखेको देखिन्छ तर अहिले स्थानीय तहका सूचना प्रदान गर्ने आधिकारिक व्यक्ति कार्यालयका जानकारी दिने अवस्थामा हुँदैनन् । अधिकांश पालिकामा जनप्रतिनिधिले प्रेस सल्लाहकार नियुक्त गर्न थालेपछि सूचना अधिकारी भूमिकाविहीन जस्तै छन् ।
िि
िदाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी दोस्रोपटक निर्वाचित भएका हुन् । एमालेबाट निर्वाचित चौधरीले पहिलो कार्यकालका सल्लाहकारलाई दोहोर्‍याएर नियुक्ति दिएका छन् । पूर्वकर्मचारी अरुण शर्मा र एमाले नेता शिवकुमार आचार्य उनका राजनीतिक सल्लाहकार छन् भने पत्रकार निमुसंगम घर्ती प्रेस सल्लाहकार छन् । दाङकै तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट निर्वाचित प्रमुख टीकाराम खड्काले पूर्वकर्मचारी एवं एमाले जिल्ला आर्थिक विभाग प्रमुख खिमबहादुर डाँगीलाई राजनीतिक सल्लाहकार राखेका छन् । पत्रकार गोकर्ण पौडेललाई स्वकीय सचिव तथा प्रेस संयोजन गर्ने जिम्मेवारी दिएका छन् । कांग्रेसबाट निर्वाचित दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पत्रकार प्रमोद आचार्यलाई प्रेस सल्लाहकार राखेका छन् । माओवादीबाट निर्वाचित गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आलोक भावुकलाई प्रेस सल्लाहकार राखेका छन् । विधि–प्रक्रिया पुर्‍याएर सल्लाहकार नियुक्त गरेको घोराही उपमहानगर प्रमुख चौधरीले बताए ।
बाँकेको जानकी गाउँपालिकाले साहिल शेषलाई प्रेस सल्लाहकार नियुक्त गरेको छ । उनी नेपालगन्जको एक अनलाइनमा काम गर्छन् । अन्य पालिकाले भने अझै प्रेस र कानुनी सल्लाहकार नियुक्त गरिसकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन र कार्यविधिविपरीत जनप्रतिनिधिले कानुनी तथा प्रेस सल्लाहकार नियुक्त गरी तलब खुवाउँदा बाँकेका ८ वटै पालिकाको बेरुजु बढ्दै गएको छ । स्थानीय तहको बेरुजु गत वर्ष दुई अर्ब नाघेको छ । कार्यविधिविपरीत नियुक्त गरिएका सल्लाहकार र कर्मचारीको तलब–भत्तालाई महालेखा परीक्षकको कार्यालयले फर्छ्योट गरेको छैन । ‘ऐन र कार्यविधिविपरीत नियुक्त गरिएका कर्मचारी र सल्लाहकारको पारिश्रमिक बुझेको रकमलाई महालेखाले बेरुजु देखाएको हो, बाँकेमा पनि यो समस्या विकराल देखिएको छ,’ कोष तथा लेखा निरीक्षक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारी भन्छन्, ‘बाँकेका स्थानीय तहको बेरुजु दुई अर्ब बढी नाघिसकेको छ ।’
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, जानकी, राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिका प्रमुखले पाँच वर्षसम्म कानुनी र प्रेस सल्लाहकार नियुक्त गरेका थिए । प्रेस सल्लाहकारको हकमा पत्रकारिता गर्दै आएको बाहेक कुनै योग्यता माग गरिएको थिएन । आफ्ना निकटका सल्लाहकार बनाइएको थियो । नगरपालिकाको हकमा सुब्बा र पालिकाको हकमा खरिदारसरह नियुक्त गरी तलब खुवाउने गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी खिमानन्द आर्यालले प्रेस र कानुनी सल्लाहकारहरूको पारिश्रमिक बेरुजु आउनु देशभरिको समस्या रहेको बताए ।
कपिलवस्तुका स्थानीय तहमा पनि पार्टीनिकट, चिनजान र निकटताका आधारमा सल्लाहकार राख्ने गरिएको छ । स्थानीय तहको आवश्यकताभन्दा पनि सम्बन्ध बनाइराख्न कुनै ज्ञान, सीप र दक्षता नभएकालाई सल्लाहकार बनाएर राज्यको स्रोत खर्च गरिएको छ । विजयनगर गाउँपालिकामा एमालेबाट निर्वाचित अध्यक्ष गोपाल थापाले पहिलो कार्यकालमा पार्टीका गाउँस्तरीय नेता गोकर्णप्रसाद सापकोटालाई मासिक १८ हजार पारिश्रमिक दिने गरी सल्लाहकार बनाएका थिए । मलेपले लेखापरीक्षण गर्दा बेरुजु निकालेपछि आफूले बुझेको १ लाख ९६ हजार रुपैयाँ गाउँपालिकामा दाखिला गरे । पछि संघले कार्यविधि बनाएर सल्लाहकार राख्न सक्ने भनेपछि फेरि गाउँ कार्यपालिका बैठकले सापकोटालाई नै सल्लाहकार बनाएको थियो । पछिल्लोपटकको बेरुजु भने अझै आएको छैन । थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएपछि को सल्लाहकार हुने भनेर पार्टीमा विवाद बढेको छ । सापकोटासँगै अर्का स्थानीय पार्टी नेता थर्कबहादुर खुन्गाहाले पनि सल्लाहकारमा दाबी गरेका छन् ।
कृष्णनगर नगरपालिकाले नूरमोहम्मद मुसलमानलाई कानुनी सल्लाहकार राखेको छ । गत आवमा उनले वर्षको ३ लाख रुपैयाँ लिएका थिए । त्यसले नपुगेर भत्ता र यातायात खर्चबापत थप एक लाख भुक्तानी दिइएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए । कृष्णननगर नगरपालिकाविरुद्ध धेरै मुद्दा–मामिला भएकाले कानुनी सल्लाहकार राख्नु बाध्यता भएको उनले बताए । अहिले पनि मुसलमान नै कानुनी सल्लाहकार छन् । मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष बजरंगीप्रसाद चौधरी र उपाध्यक्ष गीता तिवारीले भागबन्डा गरेर सल्लाहकार नियुक्त गरेका थिए । चौधरीले पार्टी कार्यकर्ता घनश्याम गौडलाई सल्लाहकार बनाएका थिए । तिवारीले आफन्त राजन उपाध्यायलाई बनाएकी थिइन् । चौधरी र उपाध्यायले मासिक १३ हजार र २१ हजार पारिश्रमिक लिँदै आएका थिए ।
रोल्पाका कतिपय स्थानीय तहमा जनप्रतिनिधिले पत्रकारलाई प्रेस संयोजकमा नियुक्ति दिएका छन् । अघिल्लो अवधिमा जस्तै हालका केही जनप्रतिनिधिले प्रेस संयोजक छानेका हुन् । रोल्पा नगरपालिका र थवाङ, माडी, सुनिल स्मृति, गंगादेव, रुन्टीगढी गाउँपालिकामा पार्टीनिकट पत्रकार र कार्यकर्तालाई प्रेस संयोजकको नियुक्ति दिइएको हो । रोल्पा नगरपालिकामा देवी गुरुङ, माडीमा बुद्धिमान वली, सुनील स्मृतिमा विनोद महरा (आशिष भारद्वाज), थवाङमा बिमलराज डाँगीलाई प्रेस संयोजक नियुक्त गरिएको हो । गुरुङ पत्रकार महासंघ रोल्पाकी पूर्वउपाध्यक्ष हुन् । रुन्टीगढी र गंगादेवमा अघिल्लोपटक क्रमशः मनोज पुन र अशोक वलीलाई तत्कालीन अध्यक्षले नियुक्त गरेका थिए । पुन पत्रकार हुन् भने वली विद्यार्थी नेता हुन् । त्रिवेणीमा अघिल्लोपटक प्रतिज्ञा बुढामगरलाई प्रेस संयोजक नियुक्त गरिएकामा पछि हटाइएको थियो । अहिले नियुक्त गरिएकामा प्रायः पत्रकार छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रेस संयोजक नियुक्त गर्न नहुने प्रावधान भएकामा उनीहरूलाई अन्य पदमा नियुक्त गरिएको स्थानीय तहले जनाएका छन् । केहीलाई कम्प्युटर सहायकलगायत पदमा नियुक्ति दिए पनि काम प्रेस संयोजककै गर्न भनिएको तहका अधिकारीले जनाएका छन् ।
लुम्बिनी प्रदेशका स्थानीय सरकार प्रमुखले यसअघिका जनप्रतिनिधिले राखेका सचिवालयका कर्मचारीले लिने गरेको सेवा–सुविधालाई महालेखाले बेरुजु औंल्याइदिएपछि अहिले निर्वाचित जनप्रतिनिधिले कार्यविधि बनाएर राख्ने तयारी गरेका हुन् । रूपन्देहीको बुटवल उपमहानगरले प्रेस संयोजक राख्ने गरी कार्यविधि तयार गरिरहेको छ । तिलोत्तमाले पुरानै कार्यविधिअनुसार गर्ने कि नयाँ बनाउने भन्ने टुंगो गरेको छैन । सिद्धार्थनगर नगरपालिकाले पनि पत्रकार सलमान खानलाई प्रेस संयोजक नियुक्त गरिसकेको छ । नियुक्त भएका अधिकांश प्रेस संयोजकले अधिकृत वा पाँचौं तहको सेवा सुविधा पाउने गरेका छन् । केही स्थानीय तहले कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएर पत्रकारलाई प्रेस संयोजक बनाएका छन् ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले साउन २ देखि लागू हुने गरी खडग शाहीलाई स्वकीय सचिव नियुक्त गरेका छन् । गाउँपालिकाले कार्यविधि बनाएर शाहीलाई मासिक १५ हजारदेखि १८ हजारसम्म सेवा–सुविधा दिने निर्णय गरेको छ । विभिन्न किसिमका सल्लाह आवश्यक पर्ने भएकाले स्वकीय सचिवका रूपमा शाहीलाई नियुक्त गरेको बुढाथोकीले बताए । उनले संघीय कानुनमा उल्लेख भएअनुसार नै सल्लाहकार भर्ना गरेको दाबी गरे । अध्यक्ष बुढाथोकीले नियुक्त गरेका शाही प्रकाश ज्वाला कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्री भएका बेला उनका स्वकीय सचिव थिए । शाहीले नीति र विधिलाई आधार मानेर अध्यक्षलाई सल्लाह दिने र सघाउने बताएका छन् । शारदा नगरपालिकाका प्रकाश भण्डारीले सल्लाहकारका रूपमा स्वकीय सचिव राखे पनि आधिकारिक रूपमा पालिकाले नियुक्ति नदिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबालले जनाएका छन् ।
गण्डकी प्रदेशमा पनि केही स्थानीय तहका प्रमुख तथा अध्यक्षले सल्लाहकार राखेका छन् । तनहुँको भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा प्रेस सल्लाहकार नियुक्ति गरेका छन् । भानुमा कांग्रेसबाट प्रमुखमा निर्वाचित भएका आनन्दराज त्रिपाठीले धनपति (डीपी) अधिकारीलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् । नगर कार्यापालिकाको बोर्ड बैठकबाट सञ्चारमाध्यम र नगरपालिकाबीच सञ्चारमैत्री वातावरण सिर्जनाका लागि अधिकारीलाई प्रेस सल्लाहकार राखिएको त्रिपाठीले बताए । अधिकारी स्थानीय एफएममा स्टेसन म्यानेजर छन् । म्याग्देमा एमालेबाट निर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् । मासिक १५ हजार रुपैयाँ दिने गरी पालिकाका गतिविधि मिडियासम्म पुर्‍याउने सम्झौतामा प्रेस सल्लाहकार राखेको बताइएको छ । तर भानुका प्रमुख त्रिपाठीले भने कुनै सेवा–सुविधा नदिने सर्तमा अधिकारीलाई प्रेस सल्लाहकार राखिएको बताएका छन् ।
२०७४ मा जिल्लाका ४ स्थानीय तह प्रमुखले प्रेस सल्लाहकार नियुक्त गरेका थिए । कांग्रेसबाट व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा विजयी जनप्रतिनिधिले कांग्रेसनिकटका पत्रकार, देवघाट गाउँपालिकामा एमालेबाट विजयी अध्यक्षले एमालेनिकटका पत्रकार र शुक्लागण्डकी नगरपालिकामा कांग्रेसबाट विजयी प्रमुखले कांग्रेसनिकट र एमालेबाट विजयी उपप्रमुखले एमालेनिकट पत्रकारलाई प्रेस सल्लाहकार बनाएका थिए । अघिल्लो कार्यकालमा व्यास नगरपालिकालाई सूचना तथा सञ्चार क्षेत्रसँग सम्बन्धित गर्नका लागि प्रेस सल्लाहकार राखिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार सल्लाहकारले नगरका हरेक बैठकका विज्ञप्ति निकाल्नेदेखि पालिकाभित्रका गतिविधिलाई प्रचारप्रसार गर्ने र पालिकालाई सल्लाह–सुझाव दिने काम गरेको उनले बताए ।
िि
िस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा स्थानीय तहले नगर प्रहरी सवारी चालक, सरसफाइ सम्बन्धित आदि पदमा बाहेक अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न नसकिने कानुनी व्यवस्था गरेको छ । महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार स्वीकृत दरबन्दीभन्दा बाहिरका प्रेस सल्लाहकारलगायतका कर्मचारी राखी तलब भुक्तानी गरेको भन्दै ३ पालिकाको खर्च बेरुजु देखाएको छ ।
शुक्लागण्डकी नगरपालिकाले प्रेस सल्लाहकार विनोद ढुंगाना र उपेन्द्र खनाललाई मासिक १५/१५ हजारको दरले १ लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको रकम बेरुजु देखिएको छ । त्यस्तै, कानुनी सल्लाहकारका रूपमा चेतनारायण पौडेललाई मासिक २० हजारको दरले भुक्तानी भएको २ लाख ६० हजार रुपैयाँ पनि महालेखाले बेरुजु देखाएको छ । व्यास नगरपालिकाले प्रेस सल्लाहकारका रूपमा बाराही मिडियासँग सम्झौता गरी मासिक १५ हजारको दरले भुक्तानी गरिएको १ लाख ८० हजार र कानुनी सल्लाहकारका रूपमा यज्ञबहादुर रानालाई मासिक १५ हजारको दरले १ लाख ९५ हजार रुपैयाँ अनियमितता देखिएको छ । देवघाट गाउँपालिकाले प्रेस सल्लाहकार आशिष रानालाई मासिक १३ हजार ५ सयको दरले भुक्तानी गरेको १ लाख ६२ हजार रुपैयाँ महालेखाले बेरुजु देखाएको छ ।
बागलुङको बागलुङ नगरपालिकाका पूर्वप्रमुख जनकराज पौडेलले पत्रकार गणेश पौडेललाई झन्डै डेढ वर्ष प्रेस सल्लाहकार राखेको थियो । ५ वर्षसम्म आफ्नै दाजु हरिप्रसाद शर्मालाई कानुनी सल्लाहकार बनाए । नगरपालिकाले प्रेस सल्लाहकारलाई मासिक तलब भरेन । एकमुष्ट केही रकम दिएर बिदाइ गर्‍यो । कानुनी सल्लाहकार शर्माले नगरपालिकाविरुद्ध आएका मुद्दाका आधारमा भुक्तानी पाए । यसैगरी बडिगाड गाउँपालिकाले प्रेस सल्लाहकार नियुक्त गरेका कमल पौडेल शिक्षकसमेत थिए । अन्य नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले पत्रकारितामा नजिक रहेकालाई स्वकीय सचिव बनाए । जैमिनी नगरपालिकाले अधिवक्ता ममतादेवी शर्मा र गलकोट नगरपालिकाले अधिवक्ता भूमिश्वर गौतमलाई सल्लाहकार चयन गरे । ‘कुनै मुद्दा लडेमा केही रकम पाइने हो तर सामान्य मुद्दामा जस्तो पनि रकम पाइएन,’ गौतमले भने, ‘अब कसैले नियुक्त गर्ने हो भने संस्थागत रुपमा सल्लाह गरेर मात्रै राख्न भनेका छौं ।’
स्थानीय रुपमा क्रियाशील केही पत्रकारहरूले पालिकाको प्रमुखसँग नजिक भएको आधारमा उनीहरूका गतिविधि सार्वजनिक गर्न सहयोग गरे । गोप्य सूचना लुकाउन पनि उनीहरू नै प्रयोग भए । अहिले बागलुङका सबै १० वटै पालिकाका निर्वाचित पदाधिकारीले सल्लाहकार चयन गरेका छैनन् । ‘छिटपुट रूपमा कसैको नाम सुन्नमा आए पनि नियुक्ति कसैको भएको छैन,’ पत्रकार राजेशचन्द्र राजभण्डारीले भने, ‘खुलाएरै सल्लाहकार राखिदिने हो भने हाम्रै साथीहरूले रोजगारी पाउने थिए ।’
कानुनी र प्रशासनिक समस्याका कारण कानुनी सल्लाहकार नियुक्तिमा बाधा नभएको अधिवक्ता भूमिश्वर गौतमले बताए । पालिकामा कानुन शाखा र मेलमिलाप समितिसमेत रहेकाले कानुन अधिकृत नियुक्ति गर्न पाउने व्यवस्था छ ।
पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जीसीले एमालेनिकट अधिवक्ता कमल अर्याललाई कानुनी सल्लाहकार नियुक्त गरेका थिए । महानगरको आफ्नै कानुनी शाखा र कानुन अधिकृत हुँदाहुँदै थप सल्लाहकार नियुक्त गरेर महानगरको व्ययभार बढाएको भन्दै जीसीको आलोचना भएको थियो । महालेखापरीक्षकको प्रतिवेदनले समेत अर्याललाई दिइएको तलब सुविधालाई बेरुजु देखाएको छ । आफ्नो पक्षले हारेको मुद्दामा समेत जितेको भनी गलत जानकारी दिएर रकम लिएको आरोप लागेपछि महानगरले उनलाई बर्खास्त गरेको थियो । बेरुजुबापतको रकम भने उनले फिर्ता गरेका छैनन् ।
पोखरा महानगरले हाल प्रेस संयोजक नियुक्त गरेको छ । कानुनी सल्लाहकार नियुक्त गरिसकेको छैन । प्रेस संयोजक नियुक्त भएका पत्रकार भीम थापा मेयर धनराज आचार्यकै पार्टी नेकपा (एकीकृत समाजवादी) निकट हुन् । उनले महानगरका गतिविधि विभिन्न सञ्चारमाध्यममा पठाउने गरेका छन् । कास्कीका रूपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाले कुनै किसिमका सल्लाहकार नियुक्त गरेका छैनन् ।

अध्यक्षकी श्रीमती भान्सेमा नियुक्त
अछामको रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउदले श्रीमतीलाई ‘भान्से’ मा नियुक्त गरेका छन् । साउदले गत जेठ १५ देखि मंसिर १५ सम्मका लागि श्रीमती जयसरा साउदलाई आफूलाई खाना पकाउन भान्से पदमा करार नियुक्ति दिलाएका हुन् । खाना पकाएबापत जयसराले मासिक २१ हजार ३ सय तलब, वार्षिक एकमुष्ट पोसाकमा १० हजार र दसैं खर्चसमेत दिने करार सम्झौता गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले कार्यालयमा एक जना भान्से राख्न आफूले अध्यक्ष साउदलाई सल्लाह दिए पनि श्रीमतीलाई नै राख्नुपर्छ नभनेको बताए । ‘अध्यक्षज्यू निर्वाचित भएर आएपछि के–के कर्मचारी राख्न मिल्ने विषयमा सोध्नुभएको थियो । कानुनबमोजिम कुनै सुविधा नभए पनि खानपानमा सहजताका लागि एक जनाको नाम दिनुहोला, भान्छेमा नियुक्त गरौंला भनेको थिएँ,’ भण्डारीले भने । सुरुमा साउद थरका एक जनाको कागजात आए पनि केही दिनपछि अध्यक्ष साउदले श्रीमतीलाई नियुक्त गर्ने कुरा गरेको भण्डारीले बताए । अध्यक्षकी श्रीमती नियुक्त गर्दा कानुनी समस्या नभए पनि नैतिक समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।

घनश्याम गौतम (रूपन्देही), दुर्गालाल केसी (दाङ), ठाकुरसिंह थारू (नेपालगन्ज), मनोज पौडेल (कपिलवस्तु), काशीराम डाँगी (रोल्पा), विप्लव महर्जन (सल्यान), सम्झना रसाइली (तनहुँ), प्रकाश बराल (बागलुङ), दीपक परियार (पोखरा) र मेनुका ढुंगाना (अछाम)

समाचार

मुख्यमन्त्रीकी छोरी दोभासे नियुक्त

- कान्तिपुर संवाददाता


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ सदस्यीय सचिवालय बनाएका छन् । त्यसमा आफ्नै छोरी मानवी केसीलाई दोभासेको नियुक्ति दिएका छन् । केसीको मासिक सेवा सुविधा ३७ हजार ९ सय ९० रुपैयाँ छ । उनले जनसम्पर्क सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकार, प्रेस संयोजक, फोटोग्राफर, स्वकीय सचिव पनि राखेका छन् । सचिवालयमा न्यूनतम २१ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक खाने गरी नियुक्ति गरेका छन् । केसीका प्रमुख राजनीतिक सल्लाहकार दाङका अमरबहादुर डाँगीलाई सञ्चार, अतिथि सत्कारसहित ८० हजार ८ सय ४० रुपैयाँ मासिक सेवा–सुविधा दिएका छन् । डाँगी एमालेका पूर्वप्रदेशसभा सदस्य हुन् । केसीलाई मुख्यमन्त्री बनाउन उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सहयोग गरेका थिए । त्यही सहयोगबापत केसीले डाँगीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका हुन् ।
त्यस्तै रोल्पाको घर्ती गाउँका रमेशबहादुर वली क्षत्रीलाई जनसम्पर्क सल्लाहकार बनाएका छन् । उनको सेवा–सुविधा मासिक ६४ हजार ८ सय रुपैयाँ छ । मासिक ४२ हजार ३ सय ८० रुपैयाँ सुविधा दिएर खरिन्द्र विकलाई स्वकीय सचिव बनाएका छन् । रोल्पाकै मानसिंह विक प्रेस संयोजक छन् । उनले पनि ३७ हजार ९ सय ९० सेवा–सुविधा लिन्छन् । प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकारका नाममा एक जना कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र हलुका सवारी चालक पनि नियुक्त गरिएको छ । मासिक ३० हजार २ सय रुपैयाँ सुविधा दिएर कविराज अधिकारीलाई क्यामेरामेन नियुक्त गरेका छन् ।
प्रमुख राजनीतिक सल्लाहकारदेखि क्यामेरामेन र कार्यालय सहयोगीसम्मले पाउने सुविधाअनुसार मुख्यमन्त्री केसीको सचिवालयले मात्र प्रदेश सरकारको मासिक ५ लाख २९ हजार ६० रुपैयाँ थप व्ययभार बढाएको छ । धेरै सुविधा लिने प्रमुख राजनीतिक सल्लाहकार डाँगी र वली प्रायः मुख्यमन्त्री कार्यालयमा भेटिँदैनन् । उनीहरूले सल्लाह दिने भनेको टेलिफोनमै हो । नियमित कार्यालय जान नपर्ने र आवश्यक पर्दा टेलिफोनमा पनि सम्पर्क भइरहने राजनीतिक सल्लाहकार डाँगीले बताए । ‘सल्लाहकार कार्यालयमै जानुपर्छ भन्ने छैन,’ उनले भने, ‘आवश्यक पर्दा टेलिफोनबाटै पनि धेरै कुरा हुन्छ ।’ तैपनि महिनामा दुई साता कार्यालयमै पुग्ने गरेको उनले बताए ।
लुम्बिनी प्रदेश प्रमुखले पनि फोटोग्राफर अधिकृतका रूपमा पत्रकार गुनाराम घिमिरेलाई नियुक्त गरेर प्रेस संयोजकको जिम्मेवारी दिएका छन् । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले पनि पत्रकार गणेश वलीलाई प्रेस संयोजकमा नियुक्त गरेका छन् । दुवैले अधिकृत छैटौंस्तरको सेवा–सुविधा खाने गरेका छन् ।
प्रदेश सरकारका मन्त्रीहरूले ३ देखि ५ जनासम्मको सचिवालय बनाएका छन् । त्यसले प्रदेश सरकारको राज्य कोषबाट मासिक २१ लाख रुपैयाँभन्दा बढी थप खर्च भइरहेको छ । लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद् छ । १३ मन्त्री र ४ राज्यमन्त्री छन् । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले ठूलो मन्त्रिमण्डल भएकाले त्यहीअनुसारको सचिवालय खर्च आउनु स्वाभाविक भएको बताए । ‘सरकारले कार्यविधि बनाएको छ, त्यहीअनुसार नै सचिवालय बनेका छन्, ठूलो र सानो भन्ने छैन,’ उनले भने, ‘त्यसैले ठूलो खर्च भन्न मिल्दैन, त्यो आवश्यकताअनुसार नै हो ।’
लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति विष्णु पन्थीले प्रदेश सरकार र स्थानीय तहका सरकार प्रमुखले जम्बो सचिवालय बनाएर राज्यको अनावश्यक खर्च बढाएको बताए । ‘जे–जे भनेर नियुक्त गरे पनि यो सबै कार्यकर्ता पाल्ने खेलोमेलो मात्र हो,’ उनले भने, ‘त्यस्ता अनावश्यक खर्चलाई सरकारबाटै निरुत्साहित गर्नु जरुरी छ ।’

Page 3
समाचार

'हनी ट्र्याप’ को सञ्जाल

- लीला श्रेष्ठ

(काठमाडौं) - सोलुखुम्बु नेचासल्यानका शेखर बाँस्तोलाले महिलाका नाममा भारतीय अभिनेत्रीको फोटो राखेर फेसबुकमा खाता खोले । फेसबुकमा क्यानडा ठेगाना उल्लेख गरेका उनले अपरिचित व्यक्तिहरूलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउन थाले । त्यही क्रममा भेटिए ७२ वर्षीय एकल पुरुष । फेसबुकमा जोडिएपछि उनीहरूबीच म्यासेन्जरमा हाइहेलो चल्यो । कुराकानी बाक्लिँदै जाँदा शारीरिक सम्बन्धसम्मको प्रसंग निस्कन थाल्यो ।
शेखरले नक्कली फेसबुक खाताबाट जहाज भाडा ५० हजार रुपैयाँ तिरिदिए क्यानडाबाट भेट्न नेपाल आउने बताए । उनले आमाबुबा अमेरिका, एउटी बहिनी अस्ट्रेलिया र अर्की बहिनी काठमाडौंमा रहेको झूटो जानकारी दिएका थिए । उनले आफू भने क्यानडामा काम गर्दै पढिरहेको बताएका थिए । युवतीका नाममा उताबाट आएका सबै कुरा ती एकल पुरुषले पत्याए । उनी काठमाडौंको काँडाघारीमा बस्ने बहिनीको हातमा ५० हजार रुपैयाँ दिन तयार भए ।
शेखरले आफ्नी पत्नी रोजिना राउतलाई काठमाडौं बस्ने बहिनी भनेर ती पुरुषसँग कुराकानी गराए । त्यसपछि रोजिना पैसा लिन आइन् । ती पुरुषले ५० हजार रुपैयाँ बुझाए । त्यसपछि जहाज भाडा महँगिएको भन्दै शेखरले थप ५० हजार रुपैयाँ मागे । ती पुरुषले थपक्क माने । शेखरले अर्को बहाना बनाए । अमेरिकामा रहेका बुबा दुर्घटना परेको भन्दै म्यासेन्जरमा सख्त घाइतेको फोटो पठाए अनि उपचारका लागि ३ लाख रुपैयाँ सहयोग गर्न आग्रह गरे । ती पुरुषले आफूसँग ६५ हजार रुपैयाँ मात्र भएको भन्दै त्यो पनि रोजिनालाई बुझाए । नक्कली फेसबुक प्रयोगकर्ता शेखरले थप रकम नपाउने भएपछि धम्क्याउन थाले । गोप्य कुराकानी सार्वजनिक गरिदिने र साइबर ब्युरोमा उजुरी दिने धम्की दिन थाले । साइबर ब्युरोमा दिएको उजुरी भन्दै किर्ते कागज पनि ती पुरुषलाई म्यासेन्जरमा पठाउन भ्याए ।
साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक हुँ भन्दै शेखरले फोन गरेर धम्क्याउन पनि भ्याए । त्यसपछि पीडित पुरुषले बाध्य भएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । त्यही उजुरीका आधारमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ बतासे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका बालकोट बस्ने २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत बिहीबार पक्राउ परेका छन् ।
‘हनी ट्र्याप’ (शारीरिक आकर्षणमार्फत फन्दा) मा पारेर ठगी गरिएको यो प्रतिनिधि घटना मात्र हो । प्रहरीका अनुसार आपराधिक लाभ लिने उद्देश्यले सामाजिक सञ्जालमार्फत महिला वा पुरुषसँग सम्पर्क बढाउने र नजिकिएपछि ठगी गरिएका घटना थुप्रै छन् । यस्तो धन्दामा संलग्नले सामाजिक सञ्जालबाट नजिकिएका व्यक्तिसँग अश्लील संवाद गर्न उकास्ने, खाजा खाने बहानामा बोलाउने र त्यसपछि झूटा मुद्दा लगाएर धम्क्याउँदै रकम माग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइराला बताउँछन् ।
शेखर र रोजिना दुवै कोभिड–१९ महामारीका कारण बेरोजगार भएपछि कमाउने सजिलो धन्दाका रूपमा हनी ट्र्यापमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । ती ७२ वर्षीय पुरुष भने १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि एकल थिए । दुवै जनाविरुद्ध प्रहरीले अनुसन्धान जारी राखेको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार आपराधिक षड्यन्त्रबमोजिमको कसुरमा मुद्दा चलाउने तयारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
प्रहरीमा उजुरी परेको हनी ट्र्यापकै अर्को केस न्युरोड, काठमाडौंका होलसेल व्यापारीको छ । उपत्यकाका पसलहरूलाई जुत्ता बेच्ने उनको व्यापारकै सिलसिलामा कल्पना बस्नेतसँग भेट भयो । जुत्ता किन्न आएकी कल्पना र ती व्यापारी सामान्य कुराकानीमै नजिकिए । कल्पनाले कहिल्यै ठमेल नगएको बताउँदै आफूलाई घुमाउन अनुरोध गरिन् । ती व्यापारीले असहमति जनाएनन् । त्यसपछि उनीहरू ठमेलको एक होटलमा गए, सँगै कफी खाए, सेल्फी खिचे, मोबाइल नम्बर साटासाट गरे । फेसबुकमा पनि साथी बनेपछि छुट्टिए ।
एकैछिनपछि ती व्यापारीको फेसबुक म्यासेन्जरमा खबर आयो– ‘कल्पना बिरामी भएर आईसीयूमा उपचार भइरहेको छ, भेट्न आउनुपर्‍यो, मेरी श्रीमतीमाथि यौन दुर्व्यवहार भएछ, तिमीविरुद्ध बलात्कार मुद्दा हाल्छु ।’ कल्पनाका पति कृष्णहरि खड्काले प्रहरी वृत्त बौद्धमा बलात्कारको उजुरी दर्ता गरेको भन्दै किर्ते कागजसमेत म्यासेन्जरमा पठाए । त्यसपछि मिलापत्र गर्न ५० लाख रुपैयाँ माग्न थाले । ती व्यापारीले ५० हजार रुपैयाँ पठाइदिए । कल्पना र उनका पति कृष्णहरिले चिनजानका सञ्जय कार्कीलाई नक्कली प्रहरी निरीक्षक बनाएर धम्क्याउन थाले । त्यसपछि शंका लागेर व्यापारीले प्रहरीमा उजुरी दिए । सिन्धुली कमलामाई नगरपालिका–६ घर भई काठमाडौंको बौद्ध बस्ने ३१ वर्षीया
कल्पना, उनका पति ३१ वर्षीय कृष्णहरि, सिन्धुली कमलामाईकै २८ वर्षीय सञ्जयलाई साउन १ मा पक्राउ गरेको छ । उनीहरूविरुद्ध आपराधिक षड्यन्त्रबमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको नक्सालस्थित बुटिककी सञ्चालक देवी थापाविरुद्ध गत कात्तिकमा प्रहरीमा चेक बाउन्सको उजुरी पर्‍यो । ओखलढुंगा सुनकोशी गाउँपालिका–१ बल्खुकी २८ वर्षीया थापाले ओखलढुंगाकै एक युवकलाई रित्तो खाताको ११ लाख ५० हजार रुपैयाँको चेक दिएकी थिइन् । नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा थापाले ६ जनालाई ‘हनी ट्र्यापिङ’ मा पारेर ७५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुल्यो । प्रहरीका अनुसार थापाले व्यवसाय र धनाढ्य पुरुषलाई सामाजिक सञ्जालमार्फत साथी बनाउने, कफी खाने बहानामा होटल पुर्‍याउने र एक/दुईपल्टको भेटघाट तथा घुमघामपछि यौन दुर्व्यवहार भएको भन्दै धम्क्याएर रकम असुली गर्थिन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनीविरुद्ध सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख रुपैयाँ, नेपाल प्रहरीका सईसँग १७ लाख रुपैयाँ, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख रुपैयाँ, जन्मजात अशक्त एक युवकसँग २ लाख २१ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । थापा हाल पुर्पक्षका लागि थुनामा छिन् ।
काठमाडौं उपत्यकामा युवती प्रयोग गरेर ‘हनी ट्र्यापिङ’ मा सक्रिय रहेको आरोपमा प्रहरीले गत असार २ मा ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने १९ वर्षीया निकिता केसी, १८ वर्षीया मनीषा परियार, ३२ वर्षीय डिकबहादुर शर्मा, ३० वर्षीय सञ्जीव दर्जी, २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेका छन् । समूहमा ‘हनी ट्र्याप’ का मुख्य योजनाकार निमा लामा र पासाङ लामा भएको
प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरूविरुद्ध पनि आपराधिक षड्यन्त्रबमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढेको छ ।
हनी ट्र्यापमा महिलालाई प्रयोग गर्ने गिरोह नै सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हनी ट्र्यापका उजुरी आउने क्रम बढेको छ । कतिपय पीडितले भने आफ्नै ‘इज्जत’ गुम्ने डरले प्रहरीमा उजुरी दिँदैनन् । नेपाल प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई सामाजिक सञ्जालको दुरुपयोगबाट आफूमाथि अपराध भइरहेको छ भन्ने सुइँको नपाउँदा कतिपय व्यक्ति ‘हनी ट्र्याप’ मा पर्ने गरेको बताउँछन् । ‘नचिनेको मान्छेलाई साथी बनाउने, व्यवसाय र परिवारप्रति इमानदार नभएका व्यक्तिहरू हनी ट्र्यापिङमा फसेका छन्,’ उनले भने, ‘नैतिक
आचरणमा बस्ने र लोभमा नफस्ने व्यक्ति आपराधिक गतिविधिमा फस्दैनन् ।’

समाचार

गंगालालमा एक चिकित्सकको म्याद थप्न नियमावली परिवर्तनको तयारी

- प्रशान्त माली

(काठमाडौं) - सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा दुई साताअघिदेखि ‘अक्सिजेनेटर’ अभावका कारण मुटुको शल्यक्रिया ठप्प छ । अक्सिजेनेटर अत्यावश्यक भएका बिरामीलाई अस्पतालले औषधि दिएर फर्काइरहेको छ । जनस्वास्थ्यमाथिको यस्तो संवेदनशील संकटमा स्वास्थ्य मन्त्रालय भने अस्पतालका केही चिकित्सकको स्वार्थमा उमेरहद बढाउने चलखेलमा लागेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले गंगालालका एक कार्डियोलोजिस्ट डाक्टरको स्वार्थमा सम्पूर्ण कार्डियोलोजिस्टको अवकाशको उमेरहद बढाउने तयारी गरेका हुन् । यसका लागि मन्त्री खापुङले अस्पताललाई शुक्रबार पत्राचार गरी सञ्चालक समितिको बैठक बोलाएका छन् । अस्पताल सञ्चालक समितिको अध्यक्ष स्वास्थ्यमन्त्री र सदस्य सचिव गंगालालका कार्यकारी निर्देशक रहने व्यवस्था छ ।
गंगालालका कर्मचारीहरूको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५८ (छैटौं संशोधनसहित) को नियम १०.१ अनुसार कर्मचारीको उमेर ६० वर्ष पुगेपछि अनिवार्य अवकाश दिइने व्यवस्था छ । तर मन्त्रीस्तरीय निर्णयले कर्मचारीको सेवासर्तसम्बन्धी नियमावली संशोधन गर्न सक्ने प्रावधान छ । अस्पतालमा कार्यरत कार्डियोलोजिस्ट (मुटुको जाँच गर्ने) डा. रवि मल्ल साउन २३ मा अवकाश हुँदै छन् । उनको स्वार्थ पूरा गराउन उमेरहद ६० बाट बढाएर ६३ वा ६५ वर्ष पुर्‍याउने तयारी थालिएको अस्पतालका एक कर्मचारीले बताए । डा. मल्ल प्रधानमन्त्री शेरबहादुर देउवाका निकट रहेको स्रोत बताउँछ । अस्पतालमा मुटुको शल्य चिकित्सक १२ जना मात्र छन् । मुटुको जाँच गर्ने डाक्टर भने २५ जना छन् । त्रिभुवन विश्वविद्यालयको छात्रवृत्तिमा पनि तीन वर्षदेखि मुटुको शल्यचिकित्सा पढ्ने चिकित्सक छैनन् । यसले अगामी ५ वर्षमा मुटुको शल्य चिकित्सक अभाव हुने देखिन्छ ।
स्वास्थ्यमन्त्री खापुङले गंगालालमा बिरामीको उपचार अझ राम्रो बनाउनका लागि छलफल गर्न बैठक बोलाएको दाबी गरे । ‘गहन ढंगबाट छलफल गर्छौं । समग्र अस्पताल राम्रो बनाउन आवश्यक निर्णय हुन्छ,’ उनले भने, ‘अक्सिजेनेटर पनि ल्याउन पहल भइरहेको छ ।’ कार्डियोलोजिस्ट डा. मल्लले भने आफूलाई यसबारेमा केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘यो कुरा मलाई सोध्ने होइन,’ उनले भने, ‘हामीले भन्ने कुरा होइन ।’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थले पनि यसबारेमा आफूलाई जानकारी नभएको बताए । ‘कहाँ हामीलाई यस्तो कुरा थाहा हुन्छ,’ उनले भने ।
कार्डियोलोजिस्टहरूको अवकाशको हदम्याद बढाउन अर्का डा. अरुण मास्के पनि सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । अवकाशको उमेरहद बढाउनेबारे अस्पताल प्रशासन महाशाखा, आर्थिक प्रशासन महाशाखा, नर्सिङ विभागले आपत्ति जनाएका छन् । उनीहरूले केन्द्र प्रतिष्ठान बनेको अवस्थामा भने छुट्टै ऐन तथा नियम आकर्षित हुने भएकाले त्यतिबेला विशेषज्ञ चिकित्सकको उमेरहद बढाउन उपयुक्त हुने भन्दै कार्यकारी निर्देशकमार्फत रायसुझाव नै पेस गरेका छन् । स्वास्थ्यमन्त्री भने शनिबार नै निर्णय गर्ने पक्षमा रहेको स्रोतको भनाइ छ ।
अस्पताल कर्मचारी संघले केही चिकित्सकको स्वार्थका लागि उमेरहद बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले अस्पताल सञ्चालक समितिलाई पत्र लेखेर विशेषज्ञ सेवाको हकमा विद्यमान जनशक्ति मूल्यांकन गरी आवश्यकताअनुसार कार्यकारी निर्देशकले करारमा नियुक्त गर्न सक्ने व्यवस्था भए पनि उमेरहद बढाउन खोजेकामा आपत्ति जनाएको छ । ‘विशेषज्ञ चिकित्सकतर्फको मात्र उमेरहद बढाउनुको औचित्य के हो ? अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको हकमा पनि लागू हुने गरी समान व्यवहार हुने कानुन नआए चरणबद्ध रूपमा संघर्षमा उत्रिने जानकारी गराउन चाहन्छौं,’ संघका सचिव विकास खनियाँले लेखेको पत्रमा भनिएको छ । गंगालालका निमित्त कार्यकारी निर्देशक सुजीव राजभण्डारीले उमेरहदबारेमा आफूलाई केही जानकारी नभएको दाबी गरे ।
‘अक्सिजेनेटर’ सकिन थालेको जान्दाजान्दै पनि अस्पताल व्यवस्थापनले एक महिनाअघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो । हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ल्याउने सम्झौता भए पनि त्यो कहिले आउने हो, अझै अनिश्चित छ ।

Page 4
वाग्मती प्रदेश

डेंगु नियन्त्रण गर्न ‘स्प्रे’

- कान्तिपुर संवाददाता


हेटौंडा (कास)– हेटौंडा उपमहानगरमा डेंगुको संक्रमण बढ्दै गएपछि नियन्त्रण गर्न स्प्रे गर्न थालिएको छ । उपमहानगरको ४ र ५ नम्बर वडाका विभिन्न क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएपछि बिहीबारदेखि स्प्रे गर्न थालिएको हो ।
उपमहानगरको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छरिएको छ । ‘संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको हो,’ उनले भने । हेटौंडा–४ र ५ नम्बर
क्षेत्रमा डेंगुका बिरामी देखिएका छन् ।

वाग्मती प्रदेश

बजेट फ्रिज बर्सेनि बढ्दै

- सुवास बिडारी

(मकवानपुर) - वाग्मती प्रदेशमा बर्सेनि बजेट फ्रिज हुने दर बढ्दै गएको छ । प्रत्येक आर्थिक वर्षमा बजेट प्रस्तुत गर्दा खर्चको दर बढ्ने दाबी गरे पनि प्रदेश सरकारले व्यवहारमा भने लागू गर्न सकेको छैन । आफ्नो कार्यकालको अन्तिम बजेट सदनमा प्रस्तुत गरिसकेको प्रदेश सरकारले पाँचवटै आर्थिक वर्षमा अनुमानित र संशोधित लक्ष्यअनुसार खर्च गर्न सकेन ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७५/७६ मा ६० प्रतिशत बजेट खर्च भएको थियो भने ४० प्रतिशत फ्रिज भयो । आव ०७६/७७ मा ५८ प्रतिशत खर्च, ४२ प्रतिशत फ्रिज, आव ०७७/७८ मा ६२ प्रतिशत खर्च, ३८ प्रतिशत फ्रिज र गत आव २०७८/७९ मा ६६ प्रतिशत खर्च, ३४ प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेशमा हालसम्म तीनवटा सरकार परिवर्तन भइसकेको छ । कुनै पनि सरकारले खर्च बढाउन आवश्यक संरचनाको विकास र उचित कदम नचालेका कारण बर्सेनि बजेट फ्रिज हुने दर बढेको सांसदहरूको आरोप छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार गत आवमा प्रदेशमा १९ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ फ्रिज भएको छ । गत आवमा ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट ल्याइएकामा ३८ अर्ब २८ करोड ४३ लाख रुपैयाँ अर्थात् ६६.१९ प्रतिशत खर्च भएको छ । उक्त आवमा चालुतर्फ ७० दशमलव ७७ र पुँजीगततर्फ ६३ दशमलव १६ प्रतिशत खर्च भएको छ । कार्यालयको तथ्यांकमा चालुतर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा १५ अर्ब ९७ करोड १४ लाख रुपैयाँ र पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाखमध्ये २१ अर्ब १ करोड २८ लाख रुपैयाँ खर्च भएको छ ।
वर्तमान सत्तारूढ गठबन्धन सरकारले मन्त्रालय विभाजनपछि खर्चको दर बढ्ने दाबी गरे पनि कार्यान्वयन हुन सकेन । प्रदेशमा ८ वटा मन्त्रालयलाई विभाजन गरेर १४ वटा पुर्‍याइएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले चालु आव २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले खर्चको दर बढाउन यसपटक धेरै टुक्रे योजना समावेश गरेको छ । प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब दुई करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात् ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात् दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

 

वाग्मती प्रदेश

धादिङमा बरामद सुन र डलर दुवै नक्कली

- कान्तिपुर संवाददाता


धादिङ (कास)– मंगलबार पक्राउ परेका बेगबहादुर तामाङबाट बरामद भएको एक किलो सुन र डलर दुवै नक्कली भएको प्रहरीले जनाएको छ । प्रहरीले एक किलो सुन र केही अमेरिकी डलरसहित बेगे भनिने बेगबहादुरलाई मंगलबार पक्राउ गरेको थियो । उक्त सुनको लाप्सो, डलर र घरमा फेला परेको सबै सुन नक्कली भएको जिल्ला प्रहरी धादिङका एसपी राकेश सिंहले बताए ।
तामाङलाई पक्राउपछि प्रहरीले घरबाट पहेंलो धातु, ३ थान पेस्तोल र २० राउन्ड गोली पनि फेला पारेको थियो । पक्राउका क्रममा घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्को कटुवा पेस्तोल भने स्वचालित छ । ‘उनीहरूको साथबाट बरामद भएको ५० र १ सयको अमेरिकी डलर चल्तीका नोटभन्दा पातलो भएको र नोटमा सिरियल नम्बर पनि नभएकाले नक्कली नै भएको पुष्टि हुन्छ,’ एसपी सिंहले भने, ‘यस्ता नक्कली नोट कहाँबाट आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।’
उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेंसी आउँदै गर्दा खनियाबास गाउँपालिका–४ का तामाङसँगै उनकै गाउँकी शोभा तामाङ पनि पक्राउ परेकी छन् । पक्राउ परेको पेस्तोल माओवादी द्वन्द्वकालदेखि नै घरमा भएको बयान दिएको प्रहरीले जनाएको छ । सुन भनिएको धातु भने केही वर्षअघि अन्य व्यक्तिहरूबीच धादिङबेंसीमै कारोबार हुन लागेको ठाउँबाट सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान तामाङले दिएको प्रहरीले जनाएको छ । तामाङलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाएको छ । शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको छ ।
०५८ मा ठगीको मुद्दा परेका तामाङ ०७४ मा पक्राउ परेका थिए । दुई वर्ष जेल र २ लाख ५० हजार रुपैयाँ जरिवाना तिरेर छुटेका उनी मंगलबार फेरि पक्राउ परेका हुन् । सुन ल्याउँदै छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । तामाङले दुई वर्षअघि कारागारभित्रबाटै पनि काम गरिदिन्छु भन्दै रकम असुलेको पीडितहरूले बताएका छन् ।

Page 5
अर्थ वाणिज्य

जुम्लाका भनिने उत्पादन कहाँका हुन् ?

- सीमा तामाङ,डीबी बुढा

(काठमाडौं/जुम्ला)
काठमाडौं उपत्यकामा वर्षैभर जुम्लालगायत कर्णालीका स्थानीय खाद्य सामग्री पाइन्छन् । स्थानीय खाद्यान्न वा लोप हुन लागेको भन्दै संरक्षणका लागि बेचिने खाद्यान्न बाह्रै महिना काठमाडौं उपत्यकामा पाइने गरेका छन् । यी खाद्य सामग्री सम्बद्ध जिल्लाकै भएको भन्दै बिक्रेताहरू बेचिरहेका छन् । उनीहरूका अनुसार जुम्लालगायत जिल्लाका किसानले उत्पादन गरेका बाली काठमाडौं उपत्यकामा जुनसुकै मौसममा किन्न पाइन्छ ।
कर्णाली अर्ग्यानिक सप, हिमाली कृषि उद्योगलगायत विविध पसलदेखि अन्य खाद्यान्न पसल र अनलाइनबाट सजिलै किन्न पाइन्छ । प्याकेटमै जिल्लाको नाम र खाद्य सामग्री नाम लेखेर नै बेच्न राखिएको हुन्छ । वर्षमा एक पटक खाद्यान्न संकलन गरी ल्याई वर्षैभर बेच्ने गरिएको पसल सञ्चालकहरूको दाबी छ । तर के जुम्लाका उत्पादनले वर्षभर उपत्यकाका माग धानिरहेका छन् ?
जुम्लाको स्याउदेखि मार्सी चामल, सिमीलगायत विभिन्न वस्तु उपत्यकामा प्रख्यात छन् । काठमाडौं उपत्यकाका धेरैजसो रेस्टुराँदेखि ठूला होटलसम्मले जुम्लाको मार्सी चामलको भात, सिमीको दाल भनेर बेचिरहेका हुन्छन् । काठमाडौंका चोकचोकमा पाइने गरी जुम्लामा मार्सी चामल, स्याउ, सिमीलगायत वस्तु उत्पादन भएका छन् त ? के ती सबै जुम्लाकै रैथाने नै हुन् ?
आर्थिक वर्ष ०७६/७७ मा जुम्लामा ६ हजार टन धान उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा ६ हजार ३७७ टन उत्पादन भएको थियो । ती उत्पादन कति स्थानीय स्तरमा त कति जिल्ला बाहिर जान्छन् भन्ने तथ्यांक छैन । कृषि विकास कार्यालय जुम्लाले तयार पारेको प्रमुख निर्यातजन्य बाली तथ वस्तुको विवरणमा धान–चामल समावेश छैन । तर काठमाडौंमा भने बाह्रै महिना मार्सी चामल किन्न पाइन्छ । जुम्लाका किसानले प्रतिकिलो १५० रुपैयाँमा बेच्ने मार्सी चामल काठमाडौं उपत्यकामा दुई सयदेखि ३ सय रुपैयाँसम्म पर्छ । कच्चा पदार्थका रूपमा ल्याइएको धानलाई खानयोग्य चामल बनाई बेचिने मार्सी जुम्लाकै हो त ?
जुम्लाका मार्सी चामललगायत खाद्यवस्तु काठमाडौंका केही ठाउँमा मात्रै पाइने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए । ‘धेरै ठाउँमा जुम्लाको उत्पादन भनेर नक्कली सामग्री बेच्ने गरेको सुन्ने गरिएको छ । समयसमयमा यस्ता गुनासो आइरहेका छन्,’ उनले भने । काठमाडौंमा मार्सी चामललगायत धेरै वस्तुको माग बढेकाले जुम्लाको मात्र उत्पादनले काठमाडौंको वर्षभरको माग धान्न नसक्ने उनको भनाइ छ । ‘मार्सी चामलले समेत शून्य दशमलव ५ प्रतिशत पनि माग धान्दैन,’ उनले भने । त्यसैले काठमाडौंमा वर्षभर बेचिने जुम्लाको मार्सी चामल नक्कली पनि हुन सक्ने उनले बताए ।
जिल्ला बाहिर पठाइने बाली तथा वस्तु ५ प्रकारका रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । विशेषगरी जौ, स्याउ, आलु र प्याजपछि सिमी बाहिरी जिल्लामा जाने गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा २ हजार ७ सय टन सिमी उत्पादन भएको कार्यालयको तथ्यांक छ । त्यसमध्ये ४ करोड २५ लाख रुपैयाँ बराबरको ५ सय टन मात्रै जिल्ला बाहिर गएको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/०७८ मा २९ सय टन सिमी उत्पादन भएको थियो । तर कति जिल्ला बाहिर गयो भन्ने तथ्यांक कार्यालयले राखेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा संरक्षण विभागमा हालसम्म उपभोक्ताले गुनासो तथा उजुरी नगरेको जनाएका छन् । वाणिज्य आपूर्ति तथा संरक्षण विभागले प्रत्येक दिनजसो काठमाडौंका विभिन्न खाद्यान्न पसलको अनुगमन गर्छ । जुम्लालगायत कर्णालीका सामग्रीबारे अहिलेसम्म कसैले पनि गुनासो नगरेको प्रवक्ता हरि पंगेनीले बताए । ‘उपभोक्ताले अहिलेसम्म गुनासो तथा उजुरी गरेका छैनन्, हामीले त दर्ता गरे/नगरको र बिलबिजक भए/नभएकोलगायत हेर्ने हो,’ उनले भने, ‘वस्तु सक्कली हो या नक्कली भनेर हेर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो ।’ गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले समेत यस्ता उजुरी नपरेको प्रस्ट्याए ।
जुम्लाको ओखर पनि काठमाडौंमा पाइन्छ । प्रतिकिलो एक हजार रुपैयाँमा जुनसुकै समयमा काठमाडौंमा जुम्लाको ओखर किन्न पाइन्छ । तर जुम्लाकै किसानले भने ओखर प्रतिकिलो १२५० रुपैयाँमा ओखर बेचेको बताउँछन् । जुम्लाको १९० हेक्टर जग्गामा ओखर खेती हुने गरेको कार्यालयको तथ्यांक छ । त्यहाँबाट वार्षिक ७ सय टन मात्रै ओखर उत्पादन हुन्छ । आर्थिक वर्ष ०७७/७८ मा ८ सय टन ओखर उत्पादन भएको थियो ।
काठमाडौंका केही पसलले जुम्लाका नाममा अन्य सामग्री बेचिरहेको जुम्ला बजारमै कोसेली घर चलाइरहेका गोविन्द आचार्यले दाबी गरे । ‘जुम्लाको सिमी नटल्कने कालो हुन्छ । तर काठमाडौंमा पाइने सिमी कालो र टल्किने हुन्छ,’ उनले भने, ‘मार्सी चामल पनि काठमाडौंमा रातै पाइन्छ । तर जुम्लाको चामल रातो मात्रै हुँदैन, सेतो पनि हुन्छ ।’
काठमाडौंमा जुम्लाका सामग्री बेच्ने पसल धेरै खुले पनि गुणस्तरीय सामान भने नपाइएको उनले सुनाए । ‘झन्डै एक साताअघि चार दिनका लागि काठमाडौं गएको थिएँ, मार्टदेखि धेरै पसलमा जुम्लाको सामान भनेर बेचेको देखें । तर वास्तवमा त्यो जुम्लाको थिएन । जुम्लाको सामान यस्तो हुन्छ भनेर नमुना देखाएर आएँ ।’ जुम्लाको स्याउ पनि बेमौसममा काठमाडौंमा किन्न पाइन्छ । गएको जेठमा प्रतिकिलो २५० रुपैयाँमा हिमाली कृषि उद्योगले स्याउ बेचिरहेको थियो । जिल्लामा ११ हजार ६ सय टन स्याउ उत्पादन हुँदा ४ हजार टन मात्रै जिल्ला बाहिर गएको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा १२ हजार टन स्याउ उत्पादन भएको थियो ।
भदौ दोस्रो सातादेखि स्याउ टिप्न योग्य हुन्छ । तर जुम्लाका किसानले साउनमै टिपेका स्याउ भने सुर्खेत, नेपालगन्जलगायत बजारमा पुगिसकेका छन् । जिल्लामा उत्पादित वस्तु ७५ प्रतिशतभन्दा बढी जिल्ला बाहिर जाने गरेको कार्यालयका प्रमुख गणेश अधिकारीको भनाइ छ । ‘पहिला कुन–कुन सामान, केकति बाहिर जान्छ भन्ने तथ्यांक राखिएको रहेछ, अहिले हामी त्यसरी नै राख्न खोज्दै छौं,’ उनले भने । आर्थिक वर्ष ०७७/७८ मा भने केकति वस्तु जिल्ला बाहिर गयो भन्ने तथ्यांक आइनसकेको उनले जनाए । गत आर्थिक वर्षको तथ्यांक पनि संकलन गरिरहेको उनले सुनाए ।
उपत्यकामा हुम्ला, जुम्लालगायत जिल्लाका खाद्यान्न बेच्ने एउटा पसल हो, हिमाली कृषि उद्योग । १८ वर्षदेखि विभिन्न जिल्लाका स्थानीय उत्पादनहरू बेचिरहेको उद्योगकी सञ्चालक गंगादेवी रावतले बताइन् । ‘हरेक वर्ष मंसिरदेखि माघसम्म हिमाली जिल्लाका खाद्यन्नका सामाग्री काठमाडौं ल्याइसक्छौं,’ उनले भनिन्, ‘सुरुवातको तुलनामा व्यापार एकदम राम्रो हुँदै गएको छ ।’ हुम्ला, जुम्ला, डोल्पालगायत विभिन्न जिल्लाबाट कच्चा पदार्थका रूपमा खाद्यान्न ल्याउने उनले जनाइन् । कच्चा पदार्थलाई लाजिम्पाटमा रहेको कारखानामा सफा गर्ने र प्याकेजिङ गरेर अनामनगर, पेप्सीकोलामा रहेका आफ्नै पसलमार्फत बेच्ने गरिएको उनको भनाइ छ । विभिन्न पसलको मागअनुसार अन्य ठाउँमा पनि सामग्री पुर्‍याउने गरिएको उनले सुनाइन् ।
कर्णाली अर्ग्यानिक सपले पनि जुम्लालगायत विभिन्न जिल्लाका सामग्री बेच्ने गरेको छ । स्थानीय स्तरबाटै सामग्री ल्याएर आफूहरूले ती जिल्लाको सामान बेचिरहेको पसलका सञ्चालक लालबहादुर सिंह ठकुरीको दाबी छ । जुम्लालगायत जिल्लाबाट आउने हुँदा सामग्री अलि महँगो हुने गरेको समेत उनी बताउँछन् । ‘जोकोहीले किन्न सक्दैनन्, कहिलेकाहीं किन्न सके पनि दैनिक किन्न गाह्रो पर्छ,’ उनले भने, ‘यस वर्ष सबै सामान मगाएर बेच्यौं, अर्को वर्षदेखि आफैं संकलन गरी ल्याएर बेच्छौं ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि जुम्लाका खाद्यान्न खरिद गरी बेच्ने गरेको छ । आफ्नो कार्यालयले भने जुम्लाको सामान अन्तिम पटक आर्थिक वर्ष ०७६/७७ मा मात्र किनेको कम्पनीका शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले जनाए । ‘आर्थिक वर्ष ०७६/७७ मा सिमी मात्रै किनेका थियौं, त्यसयता किन्न सकेका छैनौं,’ उनले भने, ‘तर प्रादेशिक कार्यालय सुर्खेतले भने मार्सी चामललगायत खाद्यवस्तु किनेर काठमाडौंमा समेत बेचिरहेको छ ।’
उत्साहित किसान
उपत्यकामा पाइने जुम्लाकै खाद्यान्न हो कि होइन भनेर प्रश्न गरिरहँदा जुम्लाका किसान भने थप खेती गर्न उत्साहित छन् । व्यापारीले घरमै आएर खाद्यान्न खरिद गर्ने भएपछि जुम्लास्थित सिँजाका किसान हर्षित छन् । स्थानीय बजारमै आफ्नो उत्पादन बेच्न पाइने भएपछि किसानले मार्सी धान, सिमी र मकैलाई प्राथमिकतामा राखेका छन् । सिंजा–२ बिष्टबाडाकी अम्बिका तिवारीले गत वर्ष प्रतिकिलो १५० रुपैयाँमा ९ क्विन्टल मार्सी धान बेचिन् । उत्पादित धान लैजान गाडी घरमै पुगेपछि दंग हुँदै उनले भनिन्, ‘सुन त माटोमै फल्छ । आफ्नो माटोमा मिहिनेत गर्दा पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने प्रमाणित गरेर देखाउँदै छु ।’
सिमी र मकै टन्न उत्पादन गरेकी उनले बेच्नकै लागि बजार धाउनुपर्ने अवस्था अब नरहेको तिवारीले सुनाइन् । ‘व्यापारीहरू गाउँमै राम्रै मूल्यमा किन्न आउँछन्,’ उनले भनिन्, ‘सिमी प्रतिकिलो १५० देखि २ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ मकै पनि जुम्ली बजारमा निकै माग भइरहेको अन्न हो । गत वर्ष मार्सी धान बेचेर पहिलो पटक १ लाख ३५ हजार रुपैयाँ कमाएकी तिवारीलाई अहिले धान, सिमी र मकै खेतीमा व्यावसायिक रूपमा लाग्न मन भएको छ । जुम्ली किसानले आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बेच्छन् । सिमीको दाना प्रतिकिलो १५० देखि २ सय, ओखर प्रतिकिलो १२५०, मार्सी चामल प्रतिकिलो १५०, गहत प्रतिकिलो २२० र मकैको च्याँख्ला एक सय रुपैयाँमा बेच्ने गरिएको छ । कर्णालीको खाद्यान्नको माग काठमाडौंमा बढी भएको जुम्लाका किसान कार्मा बुढाले बताए । ‘कर्णालीको खाद्यान्न खोजीखोजी लगिन्छ । तर कर्णालीबाट खाद्यान्न लैजाने सहज वातावरण बनिसकेको छैन,’ उनले भने, ‘बिचौलियाका कारण किसान मारमा छन् ।’
झन्डै दुई दशकअघिसम्म जुम्ली किसानले उत्पादन गरेको अन्न घरमै थन्किन्थ्यो । ढुवानी नहुँदा वर्षौं पुरानो अन्न माटोमा खाडल बनाएर भण्डारण गरिन्थ्यो । ०६१ सालसम्म ढुवानीको एक मात्र साधन हवाईजहाज थियो । त्यो पनि सबै किसानको पहुँचसम्म पुग्दैनथ्यो । ०६१ सालमा कर्णाली राजमार्गको ट्र्याक खुलेपछि मात्रै जुम्लालगायत कर्णालीका उत्पादन नेपालका मुख्य बजारसम्म पुग्न थालेका हुन् ।

अर्थ वाणिज्य

खर्चमा कमजोर सडक विभाग

- विमल खतिवडा

(काठमाडौं) - सबैभन्दा बढी बजेट पाउनेमा पर्छ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । मन्त्रालयअन्तर्गत पनि सबैभन्दा बढी बजेट खर्च गर्ने निकाय हो, सडक विभाग । गत आर्थिक वर्ष ०७८/७९ मा मन्त्रालयका लागि विनियोजित कुल १ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँमध्ये विभागको मात्र बजेट १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ थियो । तर बढी विकास निर्माणको काम गराउने निकायका रूपमा रहेको सडक विभागले गत आर्थिक वर्षमा कुल बजेटको ५५.१८ प्रतिशत मात्र खर्च गरेको छ । अर्थात् ७१ अर्ब ६३ करोड रुपैयाँ मात्र खर्च भएको हो । समग्र मन्त्रालयको खर्च भने ५९.९६ प्रतिशत छ । काम गर्ने समयमा समेत विभागको खर्च सोचेअनुरूप हुन सकेन ।
सडक विभागका अनुसार कोभिडको समयमा पनि गत आर्थिक वर्षको जति खर्च भएको थियो । कोभिडले मार पारेको आर्थिक वर्ष ०७६/७७ मा विभागका लागि मात्र १ खर्ब २७ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यसमध्ये ५४.६५ प्रतिशत खर्च भयो । अर्थात् विनियोजित बजेटको ६९ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको हो । उक्त आर्थिक वर्षको चार महिना लकडाउन भयो । आर्थिक वर्ष ०७७/७८ को साउन ५ सम्म लकडाउन कायमै थियो । जुन बेला काममा समस्या भए पनि खर्च प्रगति अहिलेको हाराहारी पुगेको थियो । अहिले भने कोभिडले असर गरेको वर्षकै हाराहारीमा खर्च भएको छ ।
अहिलेको खर्चलाई अहिलेसम्मकै कम भन्न सकिने विभागका उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारी बताउँछन् । ‘लकडाउनका बेला भएको खर्चभन्दा यो निकै कम हो,’ उनले भने, ‘यस पटक पनि खर्च गर्न केही समस्या आइपरे ।’ गत आर्थिक वर्षमा बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयक भदौमा आएकाले पनि समयमै निर्माणमा काम अघि बढाउन ढिलाइ भएको उनको भनाइ छ । चुनाव, कोभिडको असर र निर्माण व्यवसायीको निर्माण होलिडेले गर्दा पनि समयमा काम हुन नसक्दा खर्चको प्रतिशत नबढेको उनले प्रस्ट्याए ।
निर्माणको मुख्य समयमै व्यवसायीले निर्माण होलिडे गरेका कारण ठूला आयोजनामा पनि सोचेअनुरूपको प्रगति हुन नसकेको विभागको भनाइ छ । ‘काम नभई भुक्तानी हुँदैन, जसले गर्दा कामै नभएर पुँजीगत खर्च बढ्न सकेन,’ प्रवक्ता अधिकारीले भने, ‘कोभिडको समयमा पनि यति कम खर्च भएको थिएन ।’ त आर्थिक वर्षमा १८ सय किमि कालोपत्रे सडक निर्माण गर्ने विभागको लक्ष्य रहेकामा ६ सय १८ किमि मात्र भएको छ । ‘यसमा लक्ष्यअनुसारको प्रगति देखिएन,’ प्रवक्ता अधिकारीले भने, ‘अघिल्लो वर्ष बजेट बनाउने बेला यसलाई सडक विभागको लक्ष्यमा राखियो, साउनमा ती शीर्षकका काम प्रदेशमा गए,’ उनले भने, ‘लक्ष्य संघमा
रह्यो, काम प्रदेशमा गयो ।’ ८ सय किमि ग्राभेलस्तरको सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३ सय ३५ किमि मात्र निर्माण भएको सडक विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार माटे सडक ३ सय ५० किमि निर्माण गर्नुपर्ने लक्ष्य राखिएकामा २ सय ८० किमि र कालोपत्रे सडक पुनर्निर्माण ६ सय किमि गर्नुपर्नेमा ४ सय २३ किमि मात्र निर्माण भएको छ । पुल निर्माणमा भने लक्ष्य पुगेको विभागको भनाइ छ । गत आर्थिक वर्षमा ३ सय पुल निर्माण गर्नुपर्नेमा २ सय ८२ वटा बनेको विभागको तथ्यांक छ । गत बुधबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहितको उपस्थितिमा विगतका वर्षहरूको खर्च प्रगति समीक्षा बैठकमा समग्रमा विभाग र आयोजना कार्यालयहरूको खर्च प्रगति कमजोर रहेको समीक्षा बैठकमा औंल्याइएको थियो ।

अर्थ वाणिज्य

बजार र प्रसारण संरचनाबिनै पीपीए खुलाउन दबाब

- हेमन्त जोशी

(काठमाडौं) - नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने विषय थप जटिल बन्दै गएको छ । पीपीए खुलाउन सरकारले नीतिगत गाँठो फुकाइदिए पनि व्यावहारिक रूपमा त्यसलाई कार्यान्वयन गर्न नसकिने अडानमा नेपाल विद्युत् प्राधिकरण छ । पीपीए थप्दा आइपर्ने आर्थिक र प्राविधिक जोखिमको दायित्व प्राधिकरणले बेहोर्न चाहेको देखिन्न । उसले सरकारबाटै जोखिम वहनको प्रत्याभूति खोजिरहेको छ । यसमा अर्थ मन्त्रालय भने तयार छैन । अर्कोतर्फ निजी क्षेत्रले पनि सरकारलाई पीपीए खुलाउन निरन्तर दबाब दिइरहेको छ ।
आरओआर आयोजनाका लागि तोकिएको ५ हजार २ सय ५० मेगावाटको सीमा सकिएपछि पछिल्ला तीन वर्षयता विद्युत् प्राधिकरणले पीपीए रोकेको छ । तर गत असार १४ मा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा सम्मिश्रण (इनर्जी मिक्स) सम्बन्धी साविकको व्यवस्थामा संशोधन गर्दै आरओआर आयोजनाका लागि थप पीपीए गर्न बाटो खोलिदियो । जलाशययुक्त जलविद्युत् आयोजनाका लागि छुट्याइएको पीपीए सीमामा १० प्रतिशत कटौती गरेर आरओआर आयोजनालाई दिन सकिने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै करिब १५ सय मेगावाट बराबरका यस्ता आयोजनामा पीपीए गर्न सकिने भएको छ । तर प्राधिकरण भने तत्काल पीपीए खोल्ने पक्षमा देखिन्न ।
उत्पादित बिजुली बेच्न बजार खोज्न नसक्नु र विद्यमान कमजोर प्रसारण संरचनामा थप बिजुली जोड्न नसकिने भएका कारण पीपीए गर्न प्राधिकरण तयार छैन । पीपीए गरेपछि निजी क्षेत्रसँग बिजुली किन्नैपर्ने तर बेच्नका लागि बजार र प्रसारण संरचना नहुँदा त्यसको दायित्व प्राधिकरणमाथि पर्न जान्छ । अर्कोतर्फ ०७० सालदेखि नै प्राधिकरणको प्रसारण प्रणालीमा समस्या देखिन थालिसकेको छ । थप पीपीए गर्दा त्यसले प्रसारण प्रणालीमा पार्ने असरबारेको अध्ययन (ग्रिड इम्प्याक्ट स्टडी) हुन सकेको छैन । यसरी आर्थिक रूपबाट बजार र प्राविधिक रूपबाट प्रसारणलाइनमा देखिने जोखिमको दायित्व हेरेर प्राधिकरणले थप पीपीए गर्न नचाहेको हो । तर जोखिम छ भनेर मात्रै पीपीए नरोकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘जोखिम मात्रै हेरेको भए अहिले सञ्चालनमा रहेका र बनिरहेका आयोजना पनि आउँदैनथे । राज्य संयन्त्रले जोखिम लिने भन्ने नै हो । तर प्राधिकरणलाई छुट्टै राखेर हेरेर मात्र हुँदैन,’ घिसिङले भने, ‘पीपीए थप्न सकिनेबारे मन्त्रिपरिषद्ले निर्णय गरेसँगै ऊर्जा मन्त्रालयले केही प्रक्रिया अगाडि बढाइरहेको छ । त्यहाँबाट आएपछि हामी त्यसलाई बोर्डमा पेस गर्छौं ।’ करिब ११ हजार ४ सय मेगावाट उत्पादन क्षमताका जलविद्युत् आयोजनाले प्राधिकरणका पीपीएका लागि निवेदन दिएका छन् । यसरी निवेदन परेकामध्ये कुन र कस्ता आयोजनालाई प्राधिकरणले पीपीए गर्ने भनेर अहिले मापदण्ड तयार भइरहेको घिसिङले बताए । ‘पीपीए गर्ने मात्रै कुरा भएन, कार्यान्वयन पनि हुनुपर्‍यो । त्यसमा वित्तीय व्यवस्थापन, आरसीओडी, पीपीए होल्ड गरेर बस्नेलाई कारबाही गर्ने जस्ता अनेक विषय जोडिन्छन्,’ उनले भने ।
अर्कोतर्फ निजी क्षेत्रले भने सरकारले पीपीए रोकेर ऊर्जा प्रवर्द्धकहरूको लगानीमाथि खेलबाड गरिरहेको आरोप लगाउँदै आएको छ । विद्युत् विकास विभागले निजी क्षेत्रलाई जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स धमाधम दिने र विद्युत् प्राधिकरणले पीपीए रोकेर राख्दा सरकारको दोहोरो चरित्र देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘सर्वेक्षण अनुमतिपत्र दिने तर पीपीए नगर्ने र निजी क्षेत्रलाई आफैं बिजुली बेच्न पनि नदिने द्वैध चरित्र सरकारले देखायो,’ आचार्यले भने, ‘सर्वेक्षण लाइसेन्स लिएसँगै आयोजनामा खर्च हुन थालिसकेको हुन्छ । पीपीए नहुँदा त्यस्तो खर्च सबै खेर जाने भयो ।’
कम्तीमा कनेक्सन एग्रिमेन्ट भएका सबै आयोजनाको पीपीए गरिनुपर्ने निजी क्षेत्रको माग छ । तर मन्त्रालयले भने आयोजना बनाउने प्रतिबद्धता निजी क्षेत्रसँग खोजिरहेको छ । पीपीए खुलाउने र निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिनेबारे निजी क्षेत्रको धारणा बुझ्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार निजी क्षेत्रसँग छलफलसमेत गरेको छ । पीपीए र विद्युत् व्यापारका सम्बन्धमा मन्त्रालयले गरिरहेको प्रयास र निजी क्षेत्रको धारणा बुझ्न छलफल गरिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए ।
‘कस्ता आयोजनालाई पीपीए गर्ने भनेर मन्त्रालयले मापदण्ड तयार पारिरहेको छ । पीपीए गरिसकेपछि निश्चित समयसीमाभित्र आयोजना सम्पन्न गरिसक्ने प्रतिबद्धता निजी क्षेत्रबाट पनि आउनुपर्छ,’ भेटुवालले भने, ‘दुई वर्षपछि निजी क्षेत्रलाई नै बिजुली बेच्ने अनुमति दिने व्यवस्थासहित आयोजना अघि बढाउन दिने विकल्प पनि छ ।’ निजी क्षेत्रलाई बिजुली व्यापारका लागि अनुमति दिन सक्ने कानुनी व्यवस्था अहिले छैन । हाल संसद्मा विचाराधीन विद्युत् विधेयकमा भने निजी क्षेत्रले पनि बिजुली बेच्न सक्ने प्रावधान राखिएको छ । तर उक्त विधेयक संसद्बाट पारित हुन नसकेको अवस्थामा केही नेपाल संशोधन गर्ने ऐनबाट पनि विद्युत् व्यापारका लागि बाटो खोल्नेबारे मन्त्रालयले तयारी गरिरहेको छ । सरकारले यसअघि मन्त्रिपरिषद् निर्णयबाट निजी क्षेत्रलाई बिजुली व्यापारको लाइसेन्स दिने तयारी गरेको थियो । त्यसका लागि कार्यविधि र निर्देशिकासमेत मन्त्रालयले तयार पारेको थियो । तर कानुन मन्त्रालयको विमतिपछि उक्त प्रक्रिया अघि बढ्न सकेन ।
सरकारलाई वार्षिक ८ अर्बको जोखिम दायित्व
राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकाससम्बन्धी अवधारणापत्र ०७२ मार्फत सरकारले ‘लेऊ वा तिर’ (टेक एन्ड पे) प्रावधानको साटो ‘टेक अर पे’ प्रावधान लागू गर्ने नीति अघि सार्‍यो । ‘विद्युत् प्राधिकरणबाट ग्रिड इम्प्याक्ट स्टडीपछि लेऊ वा तिर प्रावधान राखी विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेका वा हुने क्रममा रहेका निजी क्षेत्रका जलविद्युत् आयोजनाको हकमा आर्थिक वर्ष ०८२/८३ सम्ममा व्यापारिक उत्पादन सुरु गरिसक्ने आरओआर आयोजनाहरूको पीपीए गरिने’ उक्त अवधारणापत्रमा उल्लेछ । यस्तो व्यवस्थाका कारण नेपाल विद्युत् प्राधिकरणलाई अतिरिक्त घाटा पर्न गए त्यसको शोधभर्ना सरकारले उपलब्ध गराउँछ । ‘यसबाट सरकारलाई करिब ८ अर्ब रुपैयाँ जोखिम रहन सक्छ । तर ऊर्जा खपत गराउन सके उक्त रकमको दायित्व सरकारले वहन गर्नुपर्दैन,’ अवधारणापत्रमा भनिएको छ ।

Page 6
समाचार

'मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

- मातृका दाहाल

(काठमाडौं) - मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताका आरोपितले ‘माथिको आदेश’ ले कानुनविपरीत काम गर्नुपरेको बयान दिएका छन् । मधेसका ८ जिल्लाका कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल खरिद गर्दा १० करोड ३३ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका सहसचिव (तत्कालीन प्रदेश सचिव) भुसालसहित सात जना र ठेकेदार कम्पनीविरुद्ध अख्तियारले कैद, बिगो र जरिवानासमेत असुलको मागदाबीसहित बुधबार अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियारले अनियमितता प्रकरणमा प्रदेश सचिव भुसालसहित मधेस प्रदेशको जलस्रोत तथा सिँचाइ विकास विभाग जनकपुरधामका तत्कालीन कार्यालय प्रमुख (हाल अवकाश) भगवान झा, मुख्यमन्त्री कार्यालयका उपसचिव दिलीपकुमार प्रधान र शाखा अधिकृत स्वार्थ महतो, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखामा कार्यरत रही हाल गरुडा नगरकार्यपालिका रौतहटमा कार्यरत खरिदार मोहनकुमार दास, साइकल आपूर्तिकर्ता ओम सत्यसाई प्राइभेट लिमिटेड, वीरगन्जका प्रबन्धक निर्देशक रेनु अग्रवाल र ओम सत्यसाई प्रालिविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले खरिद प्रकरणमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, तीन जना प्रमुख सचिव र अरू थुप्रैसँग बयान लिए पनि निर्णय प्रक्रिया, कागजातमा संलग्नता एवं अधिकार क्षेत्र नपरेको कारण देखाएर प्रतिवादी बनाएको छैन ।
तत्कालीन प्रदेश सचिव भुसाललाई अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार चार वर्षसम्म कैद तथा बिगो १० करोड ३३ लाख ७ सय ५८ रुपैया असुल तथा त्यति नै जरिवानाको मागदाबी गरेको छ । सरकारलाई नोक्सानी पुर्‍याउन ‘मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गराएको’ कसुरमा भुसाललाई तीन वर्षसम्म कैद तथा गलत लिखत तयार पारेको भन्दै थप एक वर्षसम्म सजाय मागदाबी गरिएको छ । सीडीई झालाई ५ वर्षसम्म कैद, बिगो असुल र बिगोबमोजिम जरिवाना माग गरिएको छ । उनलाई पनि भ्रष्टाचारमा तीन वर्षसम्म र आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेर सम्झौता गरेकोमा थप दुई वर्ष कैद मागदाबी लिइएको छ ।
झाले मुख्यमन्त्री कार्यालयको प्रतिनिधिका रूपमा खरिद सम्झौता गरेका थिए । सहलेखापाल मण्डललाई तीन वर्षसम्म कैद, १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ बिगो असुल र त्यति नै जरिवाना गर्न माग गरिएको छ । महतो र दासलाई गलत लिखत तयार पारेर आफूलाई फाइदा र प्रदेश सरकारलाई नोक्सान पुर्‍याएको आरोपमा तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । साइकल आपूर्तिकर्ता अग्रवाललाई दुई वर्षसम्म कैद, बिगो असुल र त्यति नै जरिवाना मागदाबी गरिएको छ । तर, खरिद प्रक्रियामा संलग्न राजनीतिक र प्रशासनिक नेतृत्वलाई भने उन्मुक्ति दिइयो ।
घोटाला प्रकरणमा प्रतिवादी बनाइएका केहीले अख्तियारसमक्ष दिएको बयानमा ‘माथिबाट आउने धम्की र दबाब’ मा आफूले कतिपय कागजात हेर्न र प्रक्रियामा रहेका कागजात केलाउन नपाएको उल्लेख गरेका छन् । ‘बोलपत्रसम्बन्धी कागजात र आपूर्तिकर्ताको योग्यता खरिद कार्यको कागजात सिनियर डिभिजन इन्जिनियर भगवान झाले तयार गर्नुभएको हो, मुख्यमन्त्रीको निर्देशनमा झाले कार्य गर्ने गरेको र मानार्थ रूपमा हस्ताक्षर स्वीकृतिका लागि मात्रै मेरोमा ल्याउने गर्नुभएको थियो,’ भुसालले दिएको बयानमा भनिएको छ, ‘झाले बिल भुक्तानीका लागि ल्याएका टिप्पणीमा स्पेसिफिकेसनअनुसार छ भनेर उल्लेख गरियो, प्राविधिकबाट पनि स्पेसिफिकेसनअनुसार ठीक छ भनेर आएको फाइल सदर गरेको हुँ ।’
यसरी आएका फाइलअनुसार ‘तुरुन्त भुक्तानी गर्न दबाब आएकाले टिप्पणी पछि स्वीकृत गर्ने गरी भुक्तानी गरिएको हो,’ भुसालको बयानमा छ । यस्तै सीडीई झाले आफू मुख्यमन्त्री कार्यालयमा नरहे पनि मौखिक आदेशमा काम गरेको उल्लेख गरेका छन् । उनलाई मुख्यमन्त्री राउतले नै खरिद प्रक्रियामा सहभागी गराएका थिए । ‘मैले साइकल खरिद प्रक्रियाको सुरुमा सिफारिस गर्दा नियमानुसार जाँच गरी स्टोर दाखिला गरी भुक्तानी हुन राय सिफारिस गरेको हो । मैले मौखिक आदेशानुसार मुख्यमन्त्री कार्यालयको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेको हुँ,’ झाले बयानमा भनेका छन् ।
जिन्सी शाखा प्रमुख (शाखा अधिकृत) रामस्वार्थ महतोले दिएको बयानमा साइकल कुन देशमा उत्पादित र कुन कम्पनीका रहेको, गुणस्तर, वारेन्टी, निःशुल्क सर्भिसलगायत केही कुरा पनि आफूलाई जानकारी नभएको उल्लेख गरेका छन् । उक्त जानकारीबिनै उनले साइकल दाखिला गर्नुको एउटै कारण माथिको आदेश रहेको मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीले बताएका छन् । सहलेखापाल राजाराम मण्डलको सबै काम र भुक्तानी प्रदेश सचिव यामप्रसाद भुसालले लाए–अह्राएबमोजिम गरेको र स्टोर किपर जितमोहनकुमार दासले भुसालकै आदेशमा आफूले स्टोर गरेको बयान दिएका छन् ।

के–केमा कानुन मिचियो ?
साइकल खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान ठाडै उल्लंघन गरिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ मा १० लाखभन्दा बढीको खरिदमा खरिद गुरुयोजना बनाउनुपर्नेमा त्यसको पालना नै भएको देखिँदैन । त्यस्तै प्रतिस्पर्धालाई छलेर मिलेमतोमा ठेकेदार छनोट र त्यसअनुसार मूल्य निर्धारण गरेको पाइएको छ । सार्वजनिक सूचनाअघि आशयको सूचना प्रकाशन नै गरिएन । समयमै खरिद नभएपछि कारबाही प्रक्रियामा जानुपर्नेमा ओम सत्यसाई कम्पनीले म्याद थपको निवेदन पेस गरे पनि प्रदेश सरकारले स्वीकृत नगरी काम अघि बढाइयो । मालसमान खरिद गर्दा गुणस्तर परीक्षण गरी स्टोर दाखिला गर्नुपर्नेमा त्यससम्बन्धी कुनै कागजात संलग्न गराइएन । सामान दाखिला गरिसकेपछि रकम भुक्तानी गर्नुअघि आर्थिक प्रशासन शाखाको राय लिनुपर्नेमा त्यो प्रावधान पनि उल्लंघन गरियो ।
साइकल खरिद प्रक्रिया सुरु गर्नुअघि तयार गरिएको स्पेसिफिकेसन पनि अनिवार्य रूपमा स्वीकृत/प्रमाणित गर्नुपर्नेमा त्यसबमोजिम नगराएको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । लागत अनुमान तयार गर्नुपर्नेमा मेकानिकल इन्जिनियर जितेन्द्रकुमार सिंहबाट सोझै अनुमान तयार गराई खरिद प्रक्रिया अगाडि बढाइयो । यसैगरी कार्यालय प्रमुखबाट बोलपत्रका कागजात स्वीकृत गर्नुपर्नेमा त्यसलाई पनि बेवास्ता गरिएको छ । कानुनविपरीतका काम गर्न माथिबाट मौखिक आदेशका भरमा हुने गरेको बयान थुप्रैबाट आएको तर त्यसलाई पुष्टि गर्ने प्रमाणहरू नभेटिएका कारण राजनीतिक तह र अरू उपल्लो तहका कर्मचारीलाई प्रतिवादी बनाउन नसकिएको अख्तियार उच्च स्रोत बताउँछ ।

Page 7
समाचार

देउवा सरकार बनेपछि पहिलो चीन भ्रमण हुादै

- जगदीश्वर पाण्डे,लक्ष्मी लम्साल

(काठमाडौं/बेइजिङ) - शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको एक वर्षपछि उत्तरी छिमेक चीनतर्फ पहिलो भ्रमण हुन लागेको छ । परराष्ट्रमन्त्री नारायण खड्का साउन २४ देखि २६ सम्म चीन भ्रमणमा जान लागेका हुन् । काठमाडौं र बेइजिङ दुवैले यसबारे जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयले मन्त्री खड्काको भ्रमणबारे विज्ञप्तिमार्फत र चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले बेइजिङमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि चीनबाट दुई उच्च भ्रमण भइसके पनि नेपालबाट सरकारी भ्रमण हुन सकेको थिएन । खड्काको यो भ्रमणलाई गठबन्धन सरकार र चीनबीच सम्बन्ध अघि बढ्न लागेको रूपमा हेरिएको छ । खड्काले सरकारको प्रतिनिधिका रूपमा चीन भ्रमण गरी दुई देशको सम्बन्ध विस्तारलगायतका विषयमा समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारत भ्रमण गरिसकेको र अमेरिका भ्रमणको गृहकार्य भइरहेको अवस्थामा मन्त्री खड्कालाई चीन पठाउन लागेका हुन् ।
चीनका परराष्ट्रमन्त्री वाङ
यीको निम्तोलाई स्वीकार गर्दै मन्त्री खड्का भ्रमणमा जान लागेका हुन् । चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको उल्लेख गर्दै नेपाली परराष्ट्रमन्त्री खड्काको भ्रमण वाङको पछिल्लोपटक भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताइन् ।
देउवा सरकार गठन भएपछि २०७८ चैत ११–१३ मा पहिलोपटक चीनका विदेशमन्त्री वाङ नेपाल आएका थिए । त्यस अवसरमा दुई मुलुकबीच १२ बुँदे सम्झौता भएको थियो । उक्त अवसरमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा छलफल भए पनि नेपालले अनुदान वा सहुलियत ऋणमा मात्र उक्त परियोजनालाई अघि बढाउने जनाएको थियो । नेपालले सन् २०१७ मा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्झौता र बीआरआईको सदस्य बनेको थियो । नेपाल सरकारले एमसीसीलाई संसद्बाट अनुमोदन गरे पनि हालसम्म बीआरआई अन्तर्गतका कुनै पनि परियोजनालाई निचोडमा पुर्‍याएर अघि बढाउन सकेको छैन । वाङले आफ्नो भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौता अघि बढाउन भने पनि नेपाल सरकारले त्यसलाई स्वीकार नगरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
बेइजिङमा प्रवक्ता ह्वाले एक वर्षभित्रमा दुवै देशबाट मन्त्रीस्तरीय आउजाउले नेपाल र चीनबीचको विश्वासलाई प्रगाढ बनाउने बताइन् । ‘दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान गर्दै छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउँछ,’ उनले भनिन् । प्रवक्ता
ह्वाका अनुसार चिनियाँ पक्षले यस भ्रमणबाट नेपाली पक्षसँगको रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढतासाथ सहयोग गर्ने र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ ।
यता, परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले मन्त्री खड्काको भ्रमणको गृहकार्य भइरहेको बताइन् । ‘यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय हुनुपर्छ, नेपाल–चीन सम्बन्धका यावत् पक्षमा छलफल हुन्छ,’ उनले भनिन् ।
यस्तै नेपालमा पछिल्लो समय चीनविरोधी गतिविधि बढेको भन्ने आशय व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले यही वर्ष असार २६–२९ मा भ्रमण गरेका थिए । पार्टीगत रूपमा भ्रमण गरेका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटवार्ता गरेका थिए । भ्रमणका दौरान उनले नेपालमा चीनविरोधी कुनै गतिविधि नहोस् भन्नेमा आश्वत हुन चाहेका थिए । नेपालका सम्पूर्ण नेताले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालले कुनै पनि मित्रराष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रस्ट पारेका थिए ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने राजकीय भ्रमण गरेपछि दुई मुलुकबीचको सम्बन्ध प्रगाढ भएको थियो तर त्यसयता नेपालमा राजनीतिक घटनाक्रम परिवर्तन भएसँगै कम्युनिस्ट सरकारको ठाउँ देउवाको नेतृत्वमा गठबन्धन सरकारले लियो । त्यसपछि दुई मुलुकको सम्बन्ध पहिलेजस्तो सुमधुर हुन सकेको छैन । सन् २०१९ मै अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अघि सारेपछि चीनले आफ्नो छिमेकीसँग उच्चस्तरीय भेटवार्तामा जोड दिँदै आइरहेको छ ।
चीनमा कोभिड–१९ संक्रमण र त्यसको प्रभावका कारण मन्त्री खड्का बेइजिङ भने जाने छैनन् । चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ सान्तोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्ने कार्यक्रम छ । चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने तालिका छैन । विश्व चर्चित छिङ्ताओ बियर महोत्सवको ३२ औं संस्करण समापन भएको भोलिपल्ट छिङ्ताओमा यो भेटघाट तय भएको हो । त्यसअघि वाङले बंगलादेश र मंगोलिया भ्रमण गर्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

नेपाल सधैं एक चीन नीतिको समर्थनमा ः परराष्ट्र
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं एक चीन नीतिको समर्थन गरेको बताइन् ।
‘पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं, नेपालले एक चीन नीतिको समर्थन गर्दै आएको छ, दुवै देशले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतालाई समर्थन गर्दै आएका छन्,’ प्रवक्ता लम्सालले भनिन्, ‘नेपाल अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको जानकारी गराउन चाहन्छौं ।’

समाचार

माओवादी अध्यक्ष दाहाल जापानतर्फ

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– माओवादी अध्यक्ष पुष्पकमल दाहाल पाँचदिने भ्रमणका लागि शुक्रबार राति जापान गएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा दाहाल सचिवालय टोलीसहित त्यसतर्फ गएका हुन् । उनले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् । अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुन्छ । दाहाल आइतबार टोकियोमा नेपाली समुदायबीच हुने अन्तर्क्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि उनको भेटवार्ताको कार्यक्रम छ ।

Page 8
खेलकुद

टेन हागको काम साह्रै गाह्रो

- कान्तिपुर संवाददाता

एएफपी (म्यानचेस्टर) - म्यानचेस्टर युनाइटेडका व्यवस्थापकका रूपमा एरिक टेन हागको पहिलो प्रतिस्पर्धात्मक खेल आइतबार परेको छ । उनीमात्र होइन, पूरा क्लब र यसका समर्थक नयाँ सुरुआत चाहन्छ । तर क्लबभित्रका पुरानै समस्याले गर्दा यी डच प्रशिक्षकको काम साह्रै गाह्रो देखिएको छ । यसलाई लगभग असम्भव भन्दा पनि हुन्छ । उनीभन्दा अघि निमित्त व्यवस्थापकका रूपमा राल्फ रागनिक थिए । क्लबमा उनको बसाइ साह्रै नमज्जाको रह्यो । बिदाइ लिएयता उनी भन्थे, म्यानचेस्टरलाई ‘ओपन हार्ट सर्जरी’ आवश्यक छ ।
उनको नेतृत्वमा म्यानचेस्टर इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा रह्यो । उनी यो भन्थे, क्लबमा नयाँ सिजनका लागि कम्तीमा १० नयाँ खेलाडी आवश्यक छ । तर, अहिलेसम्म ओल्ड ट्राफोर्डमा नयाँ सिजनलाई भनेर तीन नयाँ खेलाडीमात्र भित्रिएका छन् । ती लिसान्ड्रो मार्टिनेज, टायरेल मलासिया र क्रिस्टियन एरिक्सन हुन् । सायद गत सिजनको तुलनामा यसपालि म्यानचेस्टर टिम अझ धेरै कमजोर छ, कम्तीमा बलियो त पक्कै छैन ।
पाउल पोग्बा, एडिन्सन काभानी, जेसी लिन्गार्ड, नेमान्जा माटिच र हुँवा माटाले क्लब छाडेका छन् । सबैले विना कुनै मूल्यमा । गोलरक्षक डिन हेन्डरसन भने ऋणमा नटिङ्घम फरेस्ट लागेका छन् । एक अर्को ठूलो ‘ट्रान्सफर’ लाई अझै नकार्न सकिन्न । पछिल्ला केही सातादेखि क्रिस्टियानो रोनाल्डो अन्यत्र जाने तर्खरमा छन् । युरोपेली च्याम्यिन्स लिग खेल्ने लोभमा उनी म्यानचेस्टर छाड्न चाहन्छन् । प्रि–सिजनअन्तर्गत आइतबारको खेलमा रोनाल्डो म्यानचेस्टर जर्सीमा देखिए ।
रायो भाल्कानोविरुद्धको त्यो खेल १–१ को बराबरीमा छुटेको थियो । रोनाल्डोले पहिलो हाफमात्र खेले । आफू सब्स्टिच्युट भएपछि रोनाल्डोले पूरा खेल अवधिमा रंगशालामै रहनुपर्छ भन्ने पनि मानेनन् । खेल सकिनु अगाडि नै उनी बाहिरिइसकेका थिए, जुन टेन हागका लागि पटक्कै स्वीकार्य रहेको छैन । स्वीकार्य होस् पनि कसरी र ? आफूले म्यानचेस्टर सम्हालेको सुरुआती केही सातामा उनले आफ्ना लागि अनुशासन सबथोक रहेको देखाउने प्रसास गरेका छन् ।
यसैक्रममा उनले अभ्यासमा ढिला आए जरिवाना लगाउने चलन सुरु गरेका छन् । त्यतिमात्र होइन, खेलाडीको आफ्नै व्यक्तिगत भान्छेको चलन पनि हटाएका छन् । टेन हाग रोनाल्डोको व्यक्तित्व र त्यससँग जोडिएको अहंकारसामु झुक्न चाहन्नन् । त्यसै क्रममा उनले पाँचपल्टको बालोन डी’अर विजेता रोनाल्डोलाई नयाँ सिजन सुरु हुनु अगाडि पूर्णतः फिट हुन आदेश दिएका छन् । उनले स्काइ स्पोर्ट्सलाई भनेका छन्, ‘उन (रोनाल्डो)ले भर्खर फेरि खेल्न सुरु गरेका छन्, त्यसैले फिटनेस आवश्यक छ ।’
उनी थप्छन्, ‘रोनाल्डो निकै माथिल्लोस्तरका खेलाडी हुन् । उनले आफूलाई एकपल्ट होइन, धेरैपल्ट सिद्ध गरेका छन् । तर खेलाडीको वास्तविक मूल्यांकन त्यही हुने गर्छ, जुन वर्तमानमा छ । कति उनले आफूमा सुधार देखाएका छन् । त्यसको अर्थ म्यानचेस्टर र रोनाल्डो दुवैले आफूलाई अबको सिजन प्रमाणित गर्नुपर्नेछ ।’ म्यानचेस्टर आइतबार ब्राइटनको भ्रमणमा निस्कने छ । त्यस खेलमा पक्कै पनि रोनाल्डो अनुपस्थित रहनेछन् ।
यस्तोमा टेन हागले अगाडि तीन खेलाडी खेलाउन सक्छन् । त्यसमा हुनसक्छन् मार्कस रासफोर्ड, एन्थोनी मार्सियल र जाडोन सान्चो । यी तीनै खेलाडी म्यानचेस्टरका लागि लयमा फर्कने प्रयासमा छन् । ओले गनर सोल्सायर व्यवस्थापक हुँदा सन् २०२०–०२१ को सिजन म्यानचेस्टर दोस्रो स्थानमा रहेको थियो । त्यतिबेला आक्रमणमा रासफोर्ड र मार्सियल नै थिए । पछि रोनाल्डो, काभानी र सान्चो आएपछि मात्र यो आक्रमणको स्वरूपमा परिवर्तन आएको थियो ।
मार्सियलले गत सिजनको आधा भाग ऋणमा सेभियामा बिताए । रोनाल्डोले क्लब छाड्ने हल्लाबीच यी फ्रान्सेली खेलाडीलाई फेरि म्यानचेस्टर फर्काइएको थियो । रासफोर्ड कति खराब लयमा छन् भने उनले इंग्ल्यान्ड टिममा पनि आफ्नो स्थान गुमाएका छन् । तर, यही कारणले उनी अन्य खेलाडीको तुलनामा फूर्तिला देखिन्छन् । उनी भन्छन्, ‘म पहिलोपल्ट प्रि–सिजनदेखि नै म्यानचेस्टरको टिममा छु । त्यसैले केही सजिलो महसुस गरिरहेको छु । म नयाँ सुरुआत लिन चाहन्छु ।’
सान्चोले पनि म्यानचेस्टरमा पहिलो सिजन खासै केही गर्न सकेनन् । आफ्नो नाममा रहेको ७ करोड ३० लाख पाउन्ड मूल्यलाई न्याय गर्न सकेनन् । तर प्रि–सिजनमा रासफोर्ड र मार्सियलसँग उनको साझेदारी राम्रो देखिएको थियो । उनीहरू चम्केपछि त हो म्यानचेस्टर पारम्परिक प्रतिद्वन्द्वी लिभरपुलमाथि ४–० ले विजयी रहेको । खासमा म्यानचेस्टरका लागि रोनाल्डोको सम्भावित सरुवा मात्र समस्या रहेको छैन, बार्सिलोनाका फ्रान्क डी जोङ किन्ने अभियान पनि अन्योल छ ।
यही कारणले म्यानचेस्टरको मध्यपंक्ति कमजोर देखिएको छ । मध्यपंक्तिकै लागि भनेर झिकाइएका मार्टिनेजले फेरि एकपल्ट आफ्नो पुराना प्रशिक्षकसामु खेल्न पाउनेछन् । अयाक्सका दिन दुवै सँगै थिए । यी अर्जेन्टिनी खेलाडीको स्वागतमा बोल्दै टेन हाग सुनाउँथे, क्लबको एकमात्र उद्देश्य भनेको म्यानचेस्टर सिटी र लिभरपुललाई शीर्षस्थानमा पछ्याउने हो । तर टिममा जुन प्रकारको समस्या देखापरेको छ, यस्तोमा म्यानचेस्टरका लागि शीर्ष चार स्थानमा रहनु नै ठूलो हुन सक्छ । अन्यथा यो पनि गाह्रै छ ।

खेलकुद

नेपालमा प्रो बक्सिङको सम्भावना

- राजनविक्रम प्रजापति

 

विश्वव्यापी मान्यताअनुरुप एमेच्योर बक्सिङमा आफूलाई प्रमाणित गरिसकेका खेलाडीहरू जो शारीरिक र मानसिक रूपमा स्वस्थ र सबल छन् अनि प्राविधिक र रणनीतिक रूपमा अब्बल छन् भने ती खेलाडीहरू मात्र प्रोफेसनल बक्सिङका लागि योग्य मानिन्छन् ।
वर्तमान परिप्रेक्ष्यमा खेलकुद होस् या कला क्षेत्र हरेक विधामा व्यावसायिकता अपरिहार्य भइसकेको छ । व्यावसायिकता भएन भने त्यो क्षेत्रसँग जोडिने सम्पूर्ण व्यक्तित्वले अन्य वैकल्पिक पेसा, व्यवसाय खोज्न बाध्य हुन्छन् । विश्वमा खेलकुदलाई व्यावसायिक बनाएका देशहरूले खेलक्षेत्रमा ठूलो फड्को मार्न सफल भएका उदाहरण प्रशस्त पाइन्छ ।
हामीले हेर्ने चर्चित फुटबल लिगहरू, क्रिकेट लिगहरू, प्रो बक्सिङहरू, टेनिस खेलहरू व्यावसायिक भएकै कारण दिनप्रतिदिन उक्त खेलप्रति क्रेज बढ्नुका साथै विश्वका कुनाकुनामा विस्तार भएको पाइएको छ । खेलक्षेत्र व्यावसायिक हुन सकेको खण्डमा खेलाडी स्वयंको प्रदर्शनमा उच्चतम ढंगले निखार आउनुका साथै रेफ्री, जज, अफिसियललगायत उक्त खेलसँग सम्बन्धित सबै व्यक्तिको काममा निखारता आउने गर्दछ ।
नेपालको खेलकुदजगतमा पनि अत्यन्तै सक्षम, सफल र करियरको उच्चतम विन्दुमा रहेका खेलाडीहरूले समेत खेलकुदमा आफ्नो भविष्य सुनिश्चत नदेखेर अरू पेसा, व्यवसाय अंगाल्ने वा विदेश नै पलायन भएका घटना बेलाबेलामा अखबारको खेलकुद पृष्ठको हेडलाइन बन्ने गरेको कारुणिक अवस्था छ ।
प्रो बक्सरहरू आफ्नो बक्सिङ करियरको माथिल्लो श्रेणीमा हुने गर्दछन्, जहाँबाट उनीहरूले बक्सरका रूपमा ख्याति पाउनुका साथै राम्रो आम्दानी गर्न सक्छन् । यसनिम्ति खेलाडीले धरैभन्दा धरै खेलको अनुभव लिइसकेको हुनुपर्दछ किनभने यो एमेच्योर बक्सिङभन्दा कठिन हुने गर्छ । सामान्यतया एमेच्योर र प्रो बक्सिङ उस्तै लागे तापनि यसका नियमहरू फरक छन् । एमेच्योर बक्सिङमा बक्सरको सुरक्षालाई बढी प्राथमिकतामा राखिएको हुन्छ भने प्रो बक्सिङनिम्ति धेरै शक्ति, सहनशीलता र रोमाञ्चकता आवश्यक हुन्छ । जसले गर्दा दर्शकमा एक किसिमको उत्सुकता र कौतुहलता उत्पन्न हुँदा खेल निकै आकर्षक बन्न पुग्छ । त्यसै कारण हजारौं दर्शक महँगो टिकट किनेर भए पनि खेलस्थलसम्म बक्सिङ हेर्न पुग्छन् ।
प्रायः खेलाडीहरू एमेच्योर बक्सिङमा एक किसिमको सफलता प्राप्त गरेपछि नाम, दाम र इज्जतका लागि प्रो बक्सिङ सुरु गर्ने गर्दछन् । विश्व बक्सिङमा आममानिसले चिन्ने र बुझ्ने नाम भनेको नै प्रो बक्सिङका खेलाडी हुन् । मोहम्मद अली, माइक टाइसन, इभान्डर होलिफिल्ड, सुगर रे रबिन्सन, फ्लोइड मे वेदर, लेनोक्स लुइस, जो फ्रेजर, म्यानी प्याकियो आदि सबै चर्चित बक्सर प्रो बक्सिङसँग आबद्ध थिए । प्रो बक्सिङकै माध्यमबाट विश्व खेलजगतमा उनीहरू स्वर्णिम अक्षरले आफ्नो इतिहास लेखाउन सफल भए ।
खेलाडीहरूले प्रो बक्सिङमा योग्य हुनका निम्ति थुप्रै चरण पार गर्नुपर्ने हुन्छ । उनीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिनुका साथै अन्तर्राष्ट्रिय नियमनकारी निकायहरूबाट जारी गरिएको प्रो बक्सिङ लाइसेन्स लिनुपर्ने हुन्छ, जसको अभिलेख नेपालमा डब्लुबिसी र डब्लुबिओको आधिकारिक संस्था नेपाल प्रोफेसनल बक्सिङ कमिसनले राख्ने गर्दछ । ती खेलाडीले कति खेल खेल्यो, कुन आधारमा जित्यो वा हार्‍यो लगायतका सम्पूर्ण विवरण अभिलेखीकरण गरिन्छ । उक्त अभिलेखलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनका निम्ति आवश्यक प्रक्रिया अपनाएर नेपाल प्रोफेसनल बक्सिङ कमिसनले संयोजनकारी भूमिका निभाउने कार्य गर्दै आएको छ ।
यसका साथै नेपालमा प्रोफेसनल बक्सिङको विकासनिम्ति विभिन्न कार्यहरू हुँदै आइरहेको छ । एलएसटी सुपर कप, नेपाल/भारत च्याम्पियनसिप, प्रथम दक्षिण एसियाली प्रो. बक्सिङ च्यापियनसिपलगायतका प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराइसकेको छ । साथै नेपाली प्रो बक्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्य पनि गरिरहेको छ । नेपाल प्रोफेसनल बक्सिङ कमिसन नेपालमा प्रो बक्सिङ खेलको नियमन गर्ननिम्ति अन्तराष्ट्रिय मान्यताप्राप्त निकाय हो भने यसअन्तर्गत प्रवर्द्धन गर्ने संस्थाहरू रहने गर्दछ । यी प्रो बक्सिङ प्रवर्द्धन गर्ने संस्थाले प्रतियोगिताहरू आयोजना गर्ने, स्पोन्सरहरू खोज्ने, खेलाडीहरूलाई पारिश्रमिक दिने लगायतका कामहरू गर्ने गर्दछन् । प्रो बक्सिङ खेल पूर्ण रूपमा व्यावसायिक हुँदाहुँदै पनि यसको मुख्य उद्देश्य भनेको बक्सिङ खेल र बक्सिङ खेलसँग सम्बन्धित टेक्निसियन, रेफ्री जजलगायतका सबै अफिसियलको समग्र उत्थान गर्नु पनि हो ।
यति हुँदाहुँदै पनि प्रो बक्सिङमा प्रसिद्धि कमाउनु वा प्रख्यात हुनु सोचे जस्तो सजिलो पक्कै छैन । एउटा बक्सरले त्यसका लागि कठोर मिहिनेत गर्नैपर्छ । विश्व परिवेशमा हेर्ने हो भने प्रो बक्सरको आम्दानी निकै आकर्षक देखिन्छ ।
फ्लोइड मे वेदर र म्यानी प्याकियोबीच सन् २०१५ मा भएको प्रो बक्सिङ खेल करिब २५० मिलियन डलरको भएको थियो । यस्ता खेलहरू अत्यन्तै दुर्लभ हुने भए तापनि संसारभरि नै प्रो बक्सरको आम्दानी आकर्षक मानिन्छ । खेलाडीले पाउने मोटो पारिश्रमिकबाट नै उसका कोच, व्यवस्थापकलगायत ऊसँग रहने पुरै टिमको पनि आर्थिक निर्भरता रहने हुँदा खेलाडीले पाउने वास्तविक रकम भने केही कम हुने गर्छ ।

नेपालको अवस्था
कोभिड–१९ महामारीको कारण खेलकुद क्षेत्रमात्र नभई विश्वका प्रायजसो सबै क्षेत्र धराशायी भएको अवस्थामा नेपाल र यसको खेलक्षेत्र पनि अछुतो रहन सकेन । पछिल्लो दुई वर्ष नेपालको खेलक्षेत्र करिब ठप्प प्रायः नै रहन पुग्यो भन्दा फरक पर्दैन । नेपालमा मात्र नभई दक्षिण एसियाली क्षेत्रमा नै प्रो बक्सिङले भर्खरमात्र गति लिन थालेको छ । विभिन्न समयमा भएका निर्णायक सेमिनारहरू, प्रो बक्सिङ अफिसियल सेमिनार २०१८, एनपिबिसि कन्भेन्सन २०२२ का साथै सन् २०१७ मा भएको च्याम्प अफ द च्यापियन्स, एलएसटी सुपर कप २०२१, प्रथम दक्षिण एसियाली प्रो. बक्सिङ च्याम्पियनसिप २०२२ लगायतका प्रतियोगिताहरू हालैका बर्षहरूमा नेपालमा हुन थालेको छ ।
यसका साथै दक्षिण एसियाली मुलुकका खेलाडीहरू एक अर्को देशमा गई प्रो बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन थालेका छन् । यसबाट के बुझ्न सकिन्छ भने दक्षिण एसियाली क्षेत्रमा पनि प्रो बक्सिङको भविष्य राम्रो देखिएको छ । विस्तारै यसमा जनमानसको रुचि पनि बढ्न थालेको छ । बक्सिङमा रुचि राख्ने सरोकारवालाहरू र निजी क्षेत्रबाट केही चासो राखेको खण्डमा विश्व बक्सिङमा नेपाली मुक्केवाजहरूले ठूलो चमत्कार गर्नसक्ने सम्भावना रहेको छ । बक्सिङ खेल, खेलाडी, र खेलसँग जोडिने सम्पूर्ण प्राविधिकहरूको जीवनस्तर उकास्नका निम्ति प्रो बक्सिङलाई विकास गर्न जरुरी छ, जसका लागि पर्याप्त मात्रमा लगानी जुटाउनु आवश्यक छ ।
यसका साथै राज्यबाट आर्थिक, प्राविधिक र प्रशासनिक स्रोत प्राप्त गर्ने खेल संघहरूले पनि खेलाडीलाई व्यावसायिक बनाउन पहल गर्नुपर्दछ । यस विपरीत कतिपय अवस्थामा खेलाडीलाई कुनै अमूक प्रतियोगिता खेल्न रोकतोक लगाउने, निर्णायकलाई सहभागी हुनबाट वञ्चित गराउनेलगायतका व्यक्तिगत दुश्मनी खेलाडीको वृत्तिविकास माथि साँधेर गरिने यस्ता आपराधिक कार्य रोकिनुपर्दछ । खेलाडी राष्ट्रका गहना हुन्, सबैका साझा हुन्, उनीहरू जात, लिंग, धर्म, सम्प्रदायभन्दा माथि हुन्छन् । खेलाडीहरू राष्ट्रिय एकताका प्रतीक पनि हुन् । जब अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन्छ, सारा जनता आपसी मनमुटाव बिर्सेर एक हुन्छन् र आफ्नो देशको खेलाडीलाई समर्थन गर्न पुग्छन् ।
फुटबल विश्वकप २००६ का लागि जब आइभोरी कोस्टले सुडानलाई ३–१ ले पराजित गरेर पहिलोपल्ट विश्वकपमा छनोट हुन सफल हुँदा आइभोरी कोस्टको गृहयुद्ध रोकिएको थियो । विश्व चर्चित नेता नेल्सन मण्डेलाको ‘खेलकुदले सबै निराशालाई जितेर आशा जगाउने गर्दछ र यो जातीय भेदभावहरू तोड्न विश्वभरका सरकारहरूभन्दा बढी शक्तिशाली छ’ भन्ने भनाइबाट खेलकुदको महत्त्वबारे बुझ्न सकिन्छ ।
विश्व शान्ति कायम गर्न, विभिन्न भूगोल, भाषा, धर्म, संस्कृति जातजातिबीच एकता कायम गर्न तथा सम्पूर्ण विश्वलाई नजिक ल्याएर भाइचारा स्थापित गर्नका निम्ति खेलकुदले महत्त्वपूर्ण भूमिका निभाउँदै आएको सर्वविदितै छ । नेपाली खेलकुदले गर्दै आएको प्रगतिमा खेलक्षेत्रका अग्रज व्यक्तित्व, खेलाडी, प्रशिक्षक, निर्णायक, खेललाई माया गर्ने दर्शक, पदाधिकारीहरूमात्र नभई सरकारी तथा गैरसरकारी क्षेत्र, मिडियाकर्मीका साथ व्यापारिक क्षेत्रको समेत उत्तिकै योगदान छ । खेलक्षेत्रलाई व्यावसायिक बाटोमा डोर्‍याउन सके नेपाली खेलकुद थप उचाइमा पुग्ने निश्चित छ ।
(प्रजापति पूर्वबक्सिङ खेलाडी
तथा आइबाका रेफ्री/जज पनि हुन्)

खेलकुद

स्क्वासमा कृष्णा र विपना भिड्ने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कृष्णा थापा र विपना ब्लोनबीच चौथो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला खुलातर्फ फाइनलमा प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार कृष्णाले भावना सुनुवारलाई ११–८, ११–४, ११–४ ले हराइन् । विपनाले स्वस्थानी श्रेष्ठविरुद्ध कडा प्रतिस्पर्धामा ११–९, ११–९, १३–११ को सेटमा जित पाइन् ।
पुरुष खुलातर्फ अरहन्तकेशर सिंहले अमिर ब्लोनलाई ११–५, ११–२, ११–६ को सोझो सेटमा हराए । अमृत थापामगरले दीपक थापालाई पनि ३–० ले हराएर फाइनल तय गरे ।
भेट्रान ५० वर्षमाथि सेमिफाइनलमा प्रज्वलप्रकाश प्रधानले धीरबहादुर पुनलाई ३–१ र सुदीपबहादुर सिंहले दिलीप अधिकारीलाई ३–० सेटले हराए । जुयिनर ब्वाइजतर्फ विकास मगर र गोपाल थापाले फाइनल पक्का गरे ।

 

Page 9
कोसेली

गुलाबी रिबन

- शैलीका छेत्री

 

विकासवादी सिद्धान्तले स्त्री–स्तनलाई आनुवंशिक स्वास्थ्यको प्रमुख अंग मानेको छ । यसको समर्थनमा लियोनार्ड श्लेनले ‘सेक्स, टाइम एन्ड पावर ः हाउ वुमेन्स सेक्सुअलिटी सेप्ड ह्युमन इभोल्युसन’ किताबमा लेखेका छन्, ‘प्रारम्भिक पुर्खाहरू सीधा उभिएर हिँड्न सिकेपछि मात्रै स्तनको आकारमा वृद्धि भएको हो र स्त्रीमा सुडौलपन आएको हो ।’
तर, आदिम सभ्यता जतिबेला विकासक्रमको चरममा पुग्यो, त्यतिबेला बदलिँदै गएको प्रकृतिसित स्त्री शरीरमा पनि ‘एस्ट्रोजेन’ हर्मोनको कस्मिक प्रभाव बढ्यो । र, त्यसले स्त्रीलाई समाजमा जननीको ओहदा दियो । बोसो मात्रै भरिएको स्तनमा
‘एस्ट्रोजेन’ ले ‘प्रोल्याक्टिन’ हर्मोनको सहयोगमा दूध उत्पादन गरायो । र, त्यो स्तनपान नै थियो, जसले आदिम सभ्यतालाई मुख्यतः सेक्रेटरी आइजिए एन्टिबडीहरूमार्फत विभिन्न संक्रमणबाट मानिसलाई बचाउँदै आयो । डार्विनले पनि ‘द ओरिजिन अफ स्पेसिस’ मा जाति उत्पत्ति र विकासक्रमको मूलधार स्त्रीको प्रजनन क्षमतातिर खोजे ।
तर, प्रकृतिले विकासक्रममार्फत नग्नवादी आदिम मानव मस्तिष्कमा जतिखेर विवेकको छाता ओढायो, त्यो छातामुन्तिर लज्जालाई पनि हुर्काउँदै गयो । त्यो लज्जाले स्त्री–शरीरलाई छोप्ने काम गर्‍यो, सँगै प्रजनन अंग चियाउने आँखाहरूका विकास पनि त्यही समाजमा भयो । त्यसपछि नै हो स्त्री–सौन्दर्यलाई यौनका नजरले हेर्न थालिएको । तर, प्रकृतिले ‘सेरोटोनिन’ हर्मोनको रफ्तार मानव मस्तिष्कमा बढाएपछि मात्रै हामीलाई सौन्दर्य खुब मन पर्न थालेको हो । अनि त्यो ‘अक्सिटोसिन’ हर्मोनको प्रभाव हो, जसले मानव मस्तिष्कमा सौन्दर्यलाई ‘प्रेम’ भनेर खबर दिन्छ । सौन्दर्यलाई प्राथमिकता दिँदै प्रकृतिले पनि ‘सेक्सुअल डिमोर्फिज्म’ को अनौठो खेल रचिरहन्छ, जसमार्फत स्तनधारी जनावर छाडी अन्य जनवारतिर हेर्दा कैयौं प्रजातिमा पोथीभन्दा भाले निकै सुन्दर देखिन्छ । सौन्दर्य प्रस्तुत गर्ने भालेको नृत्यलाई पोथीले स्वीकृति दिएपछि मात्रै त्यो प्रजाति प्रकृतिमा फैलिने बाटो खुल्छ ।
त्यो ‘सेक्सुअल डिमोर्फिज्म’ नै हो, जसले प्रकृतिमा स्त्रीत्व पुरुषमाथि हाबी बनेको देखाउँछ । त्यसैले होला ब्रह्मालाई सबैभन्दा अनुपम सृष्टि स्त्रीकै उत्पत्ति गर्नु थियो, जसको प्रामाणिकतामा अनुवांशिकी विज्ञान पनि बोलिरहन्छ, ‘प्रकृतिमा चाहे त्यो मानव भ्रूण होस् वा अन्य स्तनधारी पशुको भ्रूण, त्यसले जीवनको स्रुवात आमाको गर्भमा स्त्रीका रूपमै गरेको हुन्छ । १.५ महिनापछि ‘एन्ड्रोजन’ (पुरुष सेक्स हर्मोन), ‘एस्ट्रोजन’ (स्त्री सेक्स हर्मोन) माथि हावी भए मात्रै भ्रूणमा पुरुषत्वको जन्म हुन्छ ।’ तर, पितृसत्तात्मक समाजमा स्त्रीत्व वर्चस्वको कुरा गर्नु, बालुवा निचोरेर तेल झिक्नुसमान हुन्छ । यहाँ स्त्रीलाई केवल कामुक मान्ने सिग्मन्ड फ्रायडका आँखाहरू छन् । सौन्दर्य र कामुकताका निम्ति स्त्री–शरीरलाई ‘कामसूत्र’ की पद्मिनीको सौन्दर्यसित पनि दाँजिन्छ । त्यसैले पुरातन सभ्यतादेखि नै यी तथ्यलाई जीवन–आधार मानिँदै कैयौं स्त्रीलाई आकर्षक बन्ने होडबाजीमा जबरन ठेलिन्छ । त्यसैले मेरो तरुण मानसिकतामा खोपिएको स्त्रीविम्ब थियो– श्वेत अनुहार, ३६ इन्चको स्तन, २७ इन्चको कम्मर अनि ५ फिट ७ इन्चको शरीर । तर, मलाई थाहा छ– ‘सौन्दर्य’ शब्द सानो बोतलमा बन्द गरि प्रदर्शनीका निम्ति मञ्चमा राखिने वस्तु अवश्य होइन ।
जतिखेर ऐनाअघि उभिएर म सौन्दर्यलाई बुझ्ने प्रयासमा हुन्छु, त्यतिखेर एकल कोषिकाबाट सुरु भएको मेरो विकासक्रमको यात्रालाई देखेको हुन्छु र शरीरभरि प्रत्येक घण्टामा बनिँदै अनि मर्दै गरेका एक अरब कोषिकालाई अनुभव गरिरहेको हुन्छु । त्यतिखेर मलाई मेरो शरीर त्यस कोषिकाले बनिएको घरजस्तो लागिरहेको हुन्छ, जहाँ बस्ने परिवार अर्थात् कोषिकामा तालमेल नभए त्यो घर अर्थात् शरीर नष्टको कगारमा उभिएको हुन्छ । यो विज्ञानको प्रामाणिक पक्ष हो । त्यसैले भन्न सक्छु, ‘यो एउटा यस्तो स्थिति हो, जहाँ आफ्नो मृत्युको खेलमा तैनाथ बनेको शत्रु स्वयम् आफू नै हुन्छ, जसलाई विज्ञानले क्यान्सर नाम दिएको छ ।’
अनि यो अवस्था बडो अप्रिय सम्झौताको स्थिति हो, जहाँ शरीरको सामान्य काम गरिरहेका कोषिकामा विपरीत दिशातिर काम गर्ने म्युटेसन देखापर्छ र त्यो सामान्य कोषिका नै क्यान्सर कोषिकामा परिणत भएको हुन्छ । त्यसपछि लगातार बढ्दै अन्त्यतिर त्यो क्यान्सर कोषिका शरीरभरि फैलिन्छ अनि शरीर मृत्युछेउ पुग्छ । तर, मानव सभ्यतामा क्यान्सरको मृत्युलाई माथ दिँदै जीवन बोलिरहन्छ । त्यो जागरुकताको कडी हो, जसको प्रामाणिकतामा विज्ञान उभिएको हुन्छ । स्त्री–प्रतीक मानिने स्तनमा सबभन्दा सामान्य कार्सिनोमा क्यान्सर हुने सम्भावना बढी मात्रामा हुन्छ, जसलाई केवल जागरुकताले मात्रै जोगाउन सकिन्छ ।
तर, हाम्रो समाजमा जागरुकता कम छ । त्यसैले त भारतमा एक लाख स्तन क्यान्सरपीडित महिलामा मृत्युदर १२.७ प्रतिशत छ । स्तन क्यान्सरका विषयमा मात्रै होइन, समाजमा स्त्रीको प्रजनन अधिकार, गर्भपतन अधिकार, घरमा गृहिणीले भोग्दै आएको आर्थिक असमानता, कार्यस्थलका असमानता तथा दुर्व्यवहारजस्ता तमाम विषयमाथि जागरुकता फैलिनुपर्ने हो । तर, समाजले ‘निर्लज्ज भन्छ’ भन्ने डर वा अज्ञानमा कैयौं स्त्रीले जीवन गुमाइरहेका छन् ।
मृत्युको कुवा
सायद यस्तै लाज मान्ने स्त्री–जमातमा पूजाको पनि गन्ती आउँथ्यो । मलाई याद छ, त्यो जुलाईको अविरल वृष्टिपातको महिना, जसको चपेटामा दार्जिलिङका कन्दराहरू टाढाबाटै पैह्रोको घाउमा रोएजस्तो लाग्थ्यो । हो, ठीक यस्तै मृत्युको पैह्रोनेर उभिएकी थिई, पूजा । पूजा संयुक्त परिवारकी बुहारी थिई र मेरो मिल्ने साथी । तर, उसको दैनिक जीवन भान्साकोठाको धूवाँसित सुरु हुन्थ्यो भने भान्साकोठाको बत्ती निभिसकेपछि दिनको अन्त्य हुन्थ्यो ।
यस्तो घरेलु व्यस्तताबीच पूजाले आफ्नो स्तनमा हुर्किंदै गरेको क्यान्सरको गाँठोलाई एक दिन नुहाउने कोठामा हतारहतार अनुभव गरेकी थिई । त्यसपछि उसले त्यो गाँठोबारे लोग्नेसँग कुरा गरी, तर परिवारमा पहिले कहिल्यै नदेखिएको त्यो स्तन–क्यान्सर चिन्ता गर्नुपर्ने विषय हो भन्ने उसको लोग्नेलाई लागेन, बरु त्यस गाँठोलाई ‘अन्धा पिलो’ मानेर भुल्ने काम गरियो ।
तर, दिनदिनै स्तनको त्यस गाँठोको आकारमा पनि वृद्धि भइरह्यो र अप्रिय थकानमा पूजा कमजोर बन्दै गई । तीन वर्षकी बच्चाकी आमा पूजालाई त्यस क्षण प्रत्येक दिन बिग्रिँदै गरेको आफ्नो हालतसित लड्नुपर्ने भयो । र, एक दिन उसको दाहिने स्तन रातभरि तीव्रसँग दुखिरह्यो, निप्पल डिस्चार्ज पनि सुरु हुन थाल्यो । त्यसैले भौतारिँदै पूजा अस्पतालको आपत्कालीन कोठामा परीक्षण गर्न पुगी । त्यहाँ अन्कोलोजिस्टले पूजाको स्तनमा अल्ट्रासाउन्ड अनि म्योमोग्रामबाट छ मिमिभन्दा पनि ठूलो गाँठो पत्ता लगाए । परिक्षणपछि त्यो गाँठो स्टेज आईभी/बी स्तन क्यान्सर हो भन्ने थाहा लाग्यो, जहाँबाट जीवनतिर फर्किने आशा शून्य मानिन्छ । पूजाको जीवनको एक मात्रै शत्रु अहिले उसैको शरीरको कुनै एक धोकेबाज कोषिका बनको थियो, जसलाई रोक्नु अब असम्भव थियो ।
क्यान्सर र विज्ञान
कोषिका जीवविज्ञानको सबैभन्दा कठिन तथा लामो विषय हो, ‘क्यान्सर’ । तर, जटिल आणविक विषयका केवल चाहिँदा पक्ष मात्रै हाइलाइट्स गर्दै त्यसबेला जीवविज्ञानका दक्ष प्रोफसेर विशाल सर, बडो गमिएका थिए र एक्कासि जागेर भनेका थिए– ‘तर...तर नि जानिराख । कोषिकामा क्यान्सर, अचानक बनिँदैन, यो बहुचरणमा लागू हुने प्रक्रिया हो । क्यान्सर भन्ने मृत्यु बमको ट्रिगरचाहिँ तिम्रो शरीरभित्र नै छ । त्यो प्रत्येक कोषिका, जसले माइटोसिस अनि मियोसिस प्रक्रियाबाट विभाजित हुन जान्दछ, त्यसको डीएनए परिरचनमा म्युटेसन मात्रै आओस्, तिम्रो जीवनको खेल त्यहीँ खतम हुन्छ ।’
नोबेल पुरस्कारबाट सम्मानित जे. माइकल विसप अनि हेरोल्ड इ. बर्मसले तथाकथित ओन्कोजिनमा
(क्यान्सर बनाउने जिन) आएको गडबडीले सामान्य कोषिकालाई ट्युमर कोषिकामा रूपान्तरण गर्छ भन्ने वैज्ञानिक खोजसँगै कोषिकामा म्युटेसन आउनु भनेकै क्यान्सरलाई निम्त्याउनु हो भन्ने पत्ता लगाए । त्यसले कोषिकालाई असामान्य तौरमा, छिटोछिटो विभाजित बन्दै, आफूजस्ता क्लोन कोषिका बनाउने स्वतन्त्रता दिन्छ, जसलाई विज्ञानले ‘क्लोनल सेलेक्सन’ भन्छ । यस प्रक्रियामा क्लोन कोषिकाहरू एकै ठाउँमा थुप्रिँदै त्यहाँ क्यान्सरको प्रथम ‘पोलिप स्टेज’ लाई निम्त्याउँछ ।
यस्तै गरी, दाना–कार्बर प्रयोगशालामा डा. कोलिनले ट्युमर सप्रेसर जिन भनेर चिनिने जिनहरूमा हुने म्युटेसनले क्यान्सर हुन्छ भनेपछि स्पष्ट भयो– क्यान्सरले कोषिका वृद्धि रोक्ने जिन ‘ट्युमर सप्रेसर जिन’ को कार्य प्रणालीलाई ठप्प पर्दै, ‘एपोप्टोसिस’ लाई (कोशिका नष्ट हुने सामान्य प्रक्रिया) सधैंका निम्ति बन्द गर्छ । यसरी क्यान्सर कोषिकाहरू दोस्रो अनि तेस्रोपटक पुनः म्युटेसनद्वारा विभाजित भई शरीरमा ‘इन्टरमिडियट एडेनोमा’ भनिने ‘लेट एडेनोमा’ स्टेजलाई निम्त्याउँछ र त्यो नै क्यान्सरको दोस्रो अनि तेस्रो स्टेज हो । अब शरीरभरि क्यान्सर कोषिकाले फैलिने योजनालगायत सर्कुलेसन अर्थात् रक्तधमनीको मार्गबाट वा लिम्फेटिक प्रणालीको माध्यमबाट लिभर, हृदय, फोक्सो अनि मस्तिष्कसम्म आफ्नो वर्चस्व कायम गर्छ, जसलाई विज्ञानले ‘मेटास्टेटिस’ अर्थात् क्यान्सरको चौथो स्टेज भन्छ ।
विशाल सरले लामो सास फेर्दै गम्भीर वाणीमा भनेका थिए, ‘यो स्थिति ठीक उस्तै हो, जहाँ राहु र केतुले मोहिनीको हातबाट छलले अमृत पान गरेका थिए । क्यान्सर कोषिका पनि यस्तै छलकारी रहेछ । आफूलाई शरीरभित्रको ‘एनारेबिक’ अर्थात् अक्सिजनको कमी रहेको ठाउँतिर पनि बचाइराख्नु, शरीरका भीईजी (भास्कुलर एन्डोथेलियल ग्रोथ फ्याक्टर) नामक द्रव्यलाई यस्तो उत्तेजित पार्दो हो, उत्तेजित भीईजीको प्रभावमा क्यान्सरस
ट्युमर वरिपरि नयाँ रक्तधमनी बनिन्छ, जसबाट क्यान्सर
कोषिकाले शरीरको ग्लुकोज अनि पर्याप्त अक्सिजन अवशोषित गरेको हुन्छ । डा. कोलिनले यस्तै भीईजी उत्तेजनासित क्यान्सरको वृद्धिलाई देखाउँदै उपचारका लागि भीईजी अवरोधकहरूको अन्तिम सफल क्लिनिकल परीक्षणबाट यसलाई रोक्न सकिन्छ भन्ने नोबल खोजले हजारौं क्यान्सरपीडितको ज्यान बचाएको छ ।’
क्यान्सर कोषिकाका तथ्यपूर्ण कुरा सुनेपछि क्लासमा अज्ञात डरले एक प्रकारको सन्नाटा ल्याएको थियो, सायद त्यसरी क्लास डराएको विशाल सरले अनुमान पाए होलान् र त डरलाई अलिकति कम गर्ने भेउमा उनले भनेका थिए– ‘शरीरमा क्यान्सर बनिनु हाम्रो हेलचेक्य्राइँले होइन । त्यो केवल मिल्दो वा अमिल्दो संयोग मात्र हो । तर, क्यान्सरबाट जोगिन हामीलाई अलिकति जागरुकताको खाँचो पर्दो हो । त्यसैले भन्छु, धूमपानबाट निस्कने ‘बेन्जोपायरिन’ नामक रसायनबाट फोक्सोको क्यान्सरलाई किन निम्त्याउनु ? वा बदामको फंगस ‘अल्फाटोक्सिन’ लाई कोशिकाको डीएनए परिरचना परिवर्तन गर्ने मौका किन दिनु ? वा किन तकनिकी ग्याजेकका रेडिएसनलाई शरीरको डीएनए प्रभावित गर्न दिनु ?’
स्तन क्यान्सर
विज्ञान भन्छ– स्त्रीले स्तन क्यान्सरको ९९ प्रतिशत प्रतिनिधित्व गर्छन् र स्तन क्यान्सरबाट निदान हुने सम्भावना १२.१ प्रतिशत हुन्छ । स्तन क्यान्सर हुने सम्भावना उमेर बढ्दै जाँदा लगभग ६५ प्रतिशत स्त्रीमा ५५ वर्षभन्दा माथि वा ४५ वर्षपछि बढी मात्रामा देखिन्छ भने वंशानुगत स्तन क्यान्सरले उमेर पर्खिंदैन । निश्चित वंशानुगत जीन उत्परिवर्तनले स्तन क्यान्सरको जोखिम बढाउँछ । यद्यपि यी जिनहरू समग्र केसहरूको ५.१० प्रतिशत मात्रै हुन् । यी जिनबिना पनि हजुरआमा, आमा, बहिनी वा छोरीलाई स्तन क्यान्सर हुन सक्छ । महिनावारी चाँडै (१२ वर्षको उमेरअघि) सुरु हुँदा स्त्रीले आफ्नो जीवनकालमा प्रजनन हार्मोनको स्तरमा उतारचढाव अनुभव गर्दा पनि स्तन क्यान्सरको जोखिम बढ्छ । रजोनिवृत्ति ढिलो (५५ वर्षपछि) देखापर्दा पनि स्तन क्यान्सरको जोखिम बढेर जान्छ भने रजोनिवृत्तिका लागि हार्मोनल थेरापीले पनि स्तन क्यान्सरको औसत दर बढाउँछ । यस्तै बाक्लो स्तनले
(फाइब्रोसिस्टिक) पनि यो निम्त्याइरहेको हुन्छ ।
वंशानुगत जिन
डा. मेरी क्लेयर किङलाई ‘बीआरसीएआई’ जिनको म्युटेसनका कारण स्तन क्यान्सरको वंशानुगत संवेदनशीलता पत्ता लगाएर क्यान्सर आनुवांशिकी र ओन्कोलोजीलाई रूपान्तरण गरेबापत २०२१ मा क्यानाडा गियरडनर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । उनले पत्ता लगाएको क्यान्सरको वंशानुगत संवेदनशीलताकै आधारमा ‘स्तनमा अचानक गाँठो देखिनु,’ ‘गाँठो नदेखिए पनि स्तनको सबै भाग बिनाकारण सुन्निनु,’ ‘स्तनको छालामा एक प्रकारको जलन वा डिम्पलिङ हुनु,’ ‘निप्पल दुख्नु, निप्पलमा देखिने रिट्रयाक्सन (निप्पल भित्रतिर फर्केको),’ ‘स्तनको छाला रातो, खैरो वा बाक्लो देखिनु’ तथा ‘निप्पल डिस्चार्ज हुनु’ जस्ता विशेषता सामान्य होइनन्, यी स्तन क्यान्सरका सम्भावित संकेत हुन् भन्ने थाहा भयो ।
डा. मेरीले भनेका प्रत्येक स्तन क्यान्सरका लक्षण र ‘बीआरसीएआई’ अनि ‘बीआरसीएटु’ जीनको वंशानुगत प्रभाव एलिनाको केसमा देखिएको थियो । एलिना सानै छँदा उसकी आमाको मृत्यु भएको थियो– स्तन क्यान्सरबाटै । मेरी प्रिय साथी एलिना २५ वर्षकी अविवाहित स्त्री थिई । एक दिन उसले भनेकी थिई– ‘शैली ! मलाई भविष्यमा मेरो जिन आउँदो मेरा नयाँ पिँढीसम्म पुर्‍याउन मन छ । त्यसैले विवाहपछि म छिट्टै आमा बन्नेछु ।’
तर, एक दिन नुहाउँदा एलिनाले आफ्ना दुवै स्तनमा गाँठाहरू बनिँदै गरेको अनुभव गरी । त्यसपछि आत्तिँदै एलिना ओन्कोलोजिस्टकहाँ जचाउन गई । त्यहाँ ओन्कोलोजिस्टले एलिनाको दाहिने स्तनमा अल्ट्रासाउन्ड र म्यामोग्राम गर्दा बनिँदै गरेको बेनाइन ट्युमरको (क्यान्सरबिनाको ट्युमर) पत्तो पाए । अनि एलिनाको बायाँ स्तनको मासुचाहिँ बायोप्सीका लागि प्रयोगशाला पठाइयो । र, थाहा लाग्यो– एलिना स्तन क्यान्सरको स्टेज आईआईआईबीमा छे ।
अब उसलाई क्यान्सर निदानका लागि केमोथेरापी, शल्यक्रिया र रेडियन हुँदै कठोर र लामो बाटो हिँड्नुपर्ने थियो । उसलाई थाहा थियो, केमोथेरापीले उसको प्रजनन प्रक्रियामा दुष्प्रभाव पार्नेछ । त्यही ध्येयमा एलिनाले प्रजनन संरक्षण अर्थात् अण्डालाई लेटेस्ट वैज्ञानिक पद्धतिबाट भविष्यमा प्रजननका निम्ति प्रयोगमा ल्याउन प्रजनन प्रयोगशालामा फ्रिज गरिहाली र आफ्नो आमा बन्ने सपनालाई कायम राखी । त्यसपछि मास्टेक्टामी (सबै स्तन हटाउने शल्यक्रिया) अतिरिक्त एलिनाले केमोथेरापीको १६ राउन्ड, चार रेड्रियोमाइसिन साइट्याक्सन र १२ राउन्ड
ट्याक्सोल दवाई खप्नुपरेको थियो ।
केमोथेरापीले दिएको वाकवाकीपन, थकान, हड्डी दुखाइ अनि रेडिएसनले शरीरको छालामा उब्जाएको जलनको पीडामा एलिना डिप्रेसनसम्म पुगी । तर, ‘जीवन बगिहिँड्ने खोला हो’ । त्यसैले एलिनालाई पनि डिप्रेसन जित्नु थियो । मास्टेक्टामीमा काटिएका स्तनमा कृत्रिम स्तन रोपन गर्ने नूतन स्तन पुनिर्निर्माणको सुन्दर उपचार ग्रहण गर्दै पछि एलिना जीवनतिर फर्केकी थिई ।
स्तन क्यान्सर र गुलाबी चेतना
मलाई याद छ त्यो अक्टोबरको महिना । स्तन क्यान्सरबाट फर्केकी प्रिय साथी एलिनालाई भेट्न म कोलकाता गएकी थिएँ । तर, लामा वर्षपछि एलिनालाई देखेर मैले ओठका मुस्कानलाई त्यही स्तरमा कायम राख्न सकिन । सधैं सुन्दरता ओतप्रोत भइरहने एलिनालाई कपालविहीन र कमजोर देख्नु मेरो आँखाका निम्ति दुःखको कुरा बन्यो । तर, एलिनाले क्यान्सरलाई माथ दिएको प्रेरणादायी कथामा मन रमिरहेको थियो । मलाई देख्नासाथ एक्कासि उसको कोठाको ठूलो ऐनाअघाडि उभ्याउँदै एलिनाले मेरो छातीमा गुलाबी रिबन लगाइदिई अनि भन्न थाली, ‘शैली ! यो गुलाबी रिबन स्तन क्यान्सर जागरुकता अनि प्रारम्भिक निदानको बलियो चेतना हो । यस चेतनाले विश्वव्यापी स्त्रीहरूलाई स्तन क्यान्सरबारे अवगत गराउँछ । २०१८ मा विश्वभरि त्यसरी स्तन क्यान्सरका लगभग २१ लाख नयाँ संक्रमणका घटना पत्तो पाएपछि, ६ लाख २७ हजार स्त्रीले स्तन क्यान्सरलाई जितेका छन् । त्यसैले तिमी पनि यो चेतनालाई मनन गर ।’
अनि स्तन क्यान्सर स्वयम् पत्ता लगाउन सकिन्छ भन्दै मलाई स्तनको स्वपरीक्षणका निम्ति प्रेरित हुन निर्देशन दिई । स्वपरीक्षणमा आफ्ना हातका औंलाहरूले स्तनमा उब्जिँदै गरेको गाँठोको खोजी गरिन्छ, स्तनवरिपरिको छालाको रङमा आएको परिवर्तन, निप्पलबाट निस्कने डिस्चार्ज इत्यादिबाट आउँदै गरेका अप्रिय परिवर्तनबारे जानकार होइन्छ भनेर उसले मलाई सुझाई । तर, एलिनाले त्यसरी स्तन–स्वपरीक्षणको कुरा गर्दा पहिले त मलाई एक प्रकारको लज्जाबोधले छोपिरह्यो । म लजाएको देखेर एलिनाले भनी– ‘शैली ! आफ्नो स्तनप्रति जागरुक रहनु कुनै लज्जाको विषय होइन । यो त स्तन क्यान्सरलाई हराउने प्रथम पाइला हो ।’
लाज र स्त्री
तर, हाम्रो समाजमा यस्तो जागरुकताको कुरा गर्नु निर्लज्जता मानिन्छ । यहाँ स्त्रीमा स्तनप्रतिको जागरुकता रोप्न लाजहरूको कैयौं परतलाई पार गर्नुपर्ने हुन्छ । पहिले म पढेको स्कुलमा स्थानीय गैरसरकारी संस्थाको प्रयासले छात्राका निम्ति पिरियड जागरुकता कार्यक्रम आयोजना भइरहन्थ्यो । त्यस कार्यक्रमको अन्त्यतिर प्रत्येक छात्रालाई सेनेटरी प्याड पनि वितरण गरिन्थ्यो । कतिपय प्रौढ शिक्षिकाहरू हामी छात्रालाई सेनेटरी प्याड सुइटरभित्र लुकाउँदै क्लासतर्फ दौडिने इसारा गर्थे । जतिसुकै होस् जागरुकताको कुरा, समाजले स्त्रीको मस्तिष्कमा रोपेका लज्जाका परतहरू हटाउनु गाह्रो विषय हुँदो रहेछ ।
सायद त्यो लाजहरूको नचाहिँदो परत नै थियो, जसको बलियो बोलीमा प्रत्येक दसैंमा मृदुला दिदी, मालती दिदीलगायत म आफ्नो शरीरको सही नापभन्दा दुई गुना ठूलो कपडामा रमाएका हुन्थ्यौं । समाजले यस्तो साँघुरोपनमा स्त्रीलाई लाजको लक्षण–घेरा पार गर्नु हुँदैन भन्ने उपदेश मात्रै दिन्छ । तर, त्यही समाजले स्त्री स्तनको आकारप्रति कुण्ठा उब्जाउने अपराधमूलक काम पनि गरिरहेको हुँदो हो । त्यसैले भन्छु, निर्लज्जताको ट्याग दिएर स्त्रीलाई ट्रोल गर्ने पुरानो बानीलाई बलियो अस्वीकृति दिँदै ठूलो आवाजमा स्तन क्यान्सरबारे कुरा गरौं । कारण, स्तन क्यान्सरलाई अँगाल्नु कुनै विकल्प होइन बरु मूर्खता हो ।
स्तन क्यान्सरको जागरूकता विश्वभरि फैलाउन अक्टोबर १९ का दिन ‘नो ब्रा डे’ मनाइन्छ । समाजको डरले खुम्चिएका कैयौं स्त्रीलाई स्तन क्यान्सरका लक्षणबारे जागरुक बन्न प्रोत्साहित गर्ने तरिकाका रूपमा ‘नो ब्रा डे’–को कल्पना गरिएको थियो । तर, यस्तो पहललाई यौनजन्य ठान्छ समाज । त्यसैले प्रत्येक वर्ष साँघुरो समाजको शोषणले स्त्रीलाई स्तनबारे जागरुक हुनुबाट रोक्छ । र, नै सबैभन्दा सामान्य कार्सिनोमा ठानिने स्तन क्यान्सरबाट स्त्रीको मृत्यु भइरहन्छ । यो साँघुरो समाजको स्त्रीप्रतिको अनभिज्ञता मात्रै हो ।
चेतनाको आह्वान
विज्ञान र भौतिक जगत्को अत्यधिक विकासले संसार सानो भुकुन्डोजत्रो मात्रै बन्यो । समाजले आदिम नग्नवादी सभ्यता भुल्दै जतिखेर आधुनिक मस्तिष्कमा लाजप्रतिको विवेक अपनायो, त्यसै क्षणदेखि समाजमा स्त्री शरीरप्रति केवल अपराध र शोषणमूलक अप्रिय दृष्टिकोणको सुरुवात भयो । सायद, यस्तै शोषणविरुद्ध ठूलो आवाजमा बोलिरहेछ– मधुलिका सिक्काको किताब ‘ए ब्रेस्ट क्यान्सर अल्फाबेट’ ।
यस किताबले स्तन क्यान्सरलाई एबीसी शब्दसहित बुझाउँछ । ‘ए’ अर्थात् समाजले ट्याबु मानेर स्त्रीलाई सामाजिक डर र लाजको चिन्तामा दिएको ‘अब्लिगेसन’ (बाध्यता), ‘बी’ अर्थात् स्तनप्रतिको ‘बिअवायरनेस’ (जागरुकता), ‘सी’ अर्थात् क्यान्सरलाई माथ दिने ‘करेज’ (साहस) । त्यस्तै बारबरा डेलिन्स्कीको किताब ‘अपलिफ्ट’ ले कैयौं मास्टेक्टोमी, केमोथेरापी अनि रेडिएसनका उत्कृष्ट ब्रान्डहरूबारे स्तन क्यान्सर रोगीलाई जानकारी दिन्छ भने जिना एल मुलिगनको ‘डियर फ्रेन्ड’ ले स्तन क्यान्सरसित लडिरहेका स्त्रीहरूको त्यो अपरिचित चिठीसित अवगत गराउँछ, जसलाई पढेपछि पाठकले स्तन क्यान्सरलाई भावनात्मक आधारमा राम्ररी बुझ्छन् । त्यसैले प्रस्ट छ, शरीरमा क्यान्सर उब्जिनु व्यक्तिको आपराधिक स्थिति होइन, व्यक्ति अज्ञात शत्रुसित लड्न योद्धा बन्दै गरेको अवस्था हो ।
जेसिका क्रेट्जम्यानले स्तन क्यान्सर उपचारका निम्ति भविष्यमा प्रयोग गरिने जिन थेरापीमाथि लेखेको एक लेखमा ८० देखि ९० प्रतिशत बिरालोका स्तन ट्युमरहरू घातक क्यान्सर हुन् र ५० प्रतिशत स्तनधारी कुकुरको स्तन ट्युमरबाट मृत्यु हुन्छ भन्ने विश्लेषण गरेकी छन् । यो पढिसकेपछि लाग्छ– पशु होस् वा मानव पृथ्वीको मूल नै जीवन हो, अनि ‘स्तन क्यान्सरबाट मृत्यु हुनु, विवेकशील प्राणीका निम्ति कुनै विकल्पित चयन होइन ।’ समाजमा प्रत्येक पुरुष अनि स्त्रीको मिल्दो पहलबाटै नूतन जागरुकताको बाटो खोलिनेछ ।
त्यसैले आऔं एकजुट बनौं र प्रत्येक स्त्रीसम्म स्तन क्यान्सरबारे जागरुकता फैलाऔं । र, स्तन क्यान्सर जितेर जीवनलाई सेलिब्रेट गरौं । र, बुझौं– क्यान्सर नियती होइन, अज्ञानको परिणती हो, जो बदल्न सकिन्छ ।

Page 10
कोसेली

हराएका मूर्ति, फेला परेका मूर्ति

- मल्ल के. सुन्दर

मूर्ति चोरी – आरम्भिककाल
चिसोको महिना, मध्यरात ! अप्रत्याशित ढंगले मन्दिरका घण्टाहरू बज्न थाले । चर्को आवाज रातको नीरवता चिर्दै बजिरह्यो र नगरवासीको निद्रा खुल्यो । आवाज कुन दिशाबाट आइरहेको हो, स्पष्ट थियो । नगरको उत्तरदिशा डाँडामाथि थियो– बज्रयोगिनीको मन्दिर । त्यसै मन्दिरको ठूलो घण्टाबाट निस्किरहेको थियो– आवाज । प्राचीनकालदेखि नै साँखुमा एउटा प्रचलन थियो– केही आपत्ति आइहाले सहयोग–सतर्कताका लागि नगरको उच्च भागको बज्रयोगिनी मन्दिरको घण्ट बजाउने ! छिनमै पूरै सहर जागा भयो । घर–घरबाट निस्केर नगरवासीहरू बज्रयोगिनीको डाँडातिर लम्के । बिजुलीको सुविधा थिएन, तर मानिसका हातमा मसाल र परालको मुस्लो थियो । थली, भद्रावास, डाँछी र चाँगुदेखि मानिसको ताँती लाग्यो । आगोको लामले यस्तो लाग्थ्यो, मानौं सिंगो सहर अँध्यारोमै कुनै मोर्चामा लम्केको छ ।
असुरक्षित भएको अनुभव हुनासाथ एक डफ्फा अपराधी मन्दिरबाट उठाएर ल्याएको मूर्ति जंगलमै छाडेर भाग्न खोजे । तर, स्थानीयले लखेटे । अपराधीले गोली चलाए । साँखुका तीन जना गम्भीर घाइते भए । घाइतेमध्ये एक साँखु धुँलाटोल निवासी सूर्यमान श्रेष्ठ हालसम्मै जीवित छन् । बज्रयोगिनी मन्दिरमा अवस्थित सबैभन्दा मूल्यवान् र प्राचीन अवलोकितेश्वरको अति कलात्मक मूर्ति चोरीको घटना थियो त्यो । ६ फिट उचाइको धातुको त्यो मूर्ति चोर्ने प्रयास भएको साल थियो– २०२६ !
केहीलाई पक्राउ गरियो, केही रिहा भए । सोधपुछ क्रममा थाहा भयो– त्यस घटनाको सम्बन्धको जरो राजदरबारसम्मै थियो । पछि प्रहरीले त्यसबाट हात झिके । तर, चोरहरूको कठालो समाउन साहस गर्ने साँखु धुँलाटोलका कृष्ण श्रेष्ठलाई त्यही गिरोहले केही दिनपछि ठमेल, सातघुम्तेमा गोली हानी हत्या गर्‍यो ।
बज्रयोगिनीको त्यस घटना उपत्यकाकै अत्यन्तै चर्चित र खतरनाक थियो । नेपालमण्डलभित्रको मूर्त सम्पदा लुप्त पार्ने संगठित आपराधिक कार्यको सम्भवतः यो प्रारम्भिक चरण थियो ।
पुरातत्त्व विभागका अनुसार, मुलुकभित्र योजनाबद्ध ढंगले मूल्यवान् मूर्तिहरू चोरिने क्रम सन् सत्तरीको दशकबाट सुरु भएको हो । र, असीको दशकमा एक प्रकारले मूर्ति चोरीको आतंक नै मच्चियो ।

खुला सम्पदा संग्रहालय
प्रत्येक चोक, चौबाटो, वस्ती, टोल, जहाँ पाइलैपिच्छे कुनै–कुनै मूर्त सम्पदा छन् । ठूल्ठूला बहाल, मन्दिर, चैत्य, स्तूप मात्रै होइन, प्रत्येक गल्ली–मोडमा साना–ठूला कलात्मक मूर्त सम्पदा पनि भेटिने नगर सभ्यताको केन्द्र हो– काठमाडौं उपत्यका । अगाध आस्थाको प्रतीकका रूपमा बस्तीहरूमा सजाइएका ती सम्पदा शैव, बौद्ध, वैष्णव, शाक्त र तान्त्रिक मूल्य मान्यताका अभिव्यक्ति थिए । अर्कोतिर ती स्मारक थिए– प्रस्तर, धातु, काष्ठ अनि मृतिका आदि सामग्रीबाट निर्मित हाम्रा पुर्खाका सांस्कृतिक–कलात्मक चेतका अनुपम कृति । हाम्रो गौरव र इतिहासका चिनो मात्र नभई ती थिए– राष्ट्रिय पहिचानका महत्त्वपूर्ण आधार ।
पाश्चात्य जगत्मा सुरक्षा घेराभित्रका म्युजियम वा धनी वर्गका निजी संकलनमा मात्रै हेर्न पाइने यस्ता कलात्मक कृति नेपालमण्डलभित्र खुला आकाशमुनि सहज पहुँचमा भेटिँदा विदेशी अध्येताहरू आश्चर्यले भरिन्छन् । जर्मनीका कलाप्रेमी युर्गेन स्किकले आफ्नो पुस्तकमा लेखेका छन्, ‘काठमाडौं उपत्यकालाई संसारकै सुन्दर र सम्पन्न एक विशाल खुला संग्रहालय भन्न सकिन्छ ।’
सन् सत्तरीको दशकमा नेपालमा राजाको सक्रिय शासनकाल थियो । त्यस संवैधानिक हिन्दु राजतन्त्रमा राजालाई विष्णुको अवतार भनिन्थ्यो अर्थात् राजा थिए– धर्मका संरक्षक । तर, तिनै धर्मभीरु शासकको छत्रछायामा धर्म, संस्कृति र आस्थाका प्रतीक एकपछि अर्को गर्दै मन्दिर, गुम्बा, चैत्य, सम्पदा क्षेत्रबाट हराउँदै गए । फेरि पनि राज्यसंयन्त्र बनेको थियो केवल मुकदर्शक ।

आतंकका ती दिन
पाटन सौगलको सूर्यमूर्ति दुई कोणबाट महत्त्वपूर्ण थियो । पहिलो, दसौं शताब्दीतिर कुँदिएको त्यो थियो– एक कलात्मक मूर्ति । दोस्रो, त्यस मूर्ति मानवाकृत उभिएको अवस्थामा थियो । चोरीको बिगबिगी बढेपछि सुरक्षाका लागि स्थानीयले मूर्तिलाई चारैतिर फलामे पाताले कसे । वैशाखको एक रात ०४३ सालतिर हातहतियारसहित आएको एक समूहले त्यो मूर्ति उखेलेरै लिएर गयो ।
इन्द्रजात्रामा काठमाडौंका टोलटोलमा भैरवका मूर्तिहरू सार्वजनिक ठाउँमा सजाएर पूजा गरिने, एक सातासम्मै खुला स्थानमा मूर्ति प्रदर्शन गर्ने प्रचलन थियो । तर, ०४३ को इन्द्रजात्रामा एकै रात काठमाडौं भित्री सहरका नघल, थँहिटी, त्यौड र न्ह्योखाबाट चारवटा भैरवका मूर्ति हराए । वर्ष त्यही थियो, पुुस ३० को राति केही अज्ञात मान्छेले कीर्तिपुरको भित्री बस्तीमा ठाउँठाउँका सम्पदा क्षेत्रका मूर्ति उखेल्दै थिए, त्यो पनि प्रहरीकै बर्दीमा । स्थानीयले थानामा पुगेर उजुरी गरे । स्थानीयलाई प्रहरी हाकिमले झपारे ।
२०४४ साल । तिहारलगत्तैको ढल्दै गरेको एक रात । छेउमै नीलो रङको प्रहरी भ्यान तैनाथ थियो । कमान्डो ड्रेस लगाएका पाँच–छ जना मान्छे बांगेमुढास्थित नारायणको मन्दिरभित्रबाट मूर्ति उखेलेर बाहिर घिसार्दै थिए । स्थानीयले चाल पाएपछि झ्याल–झ्यालैबाट चिच्याउन थाले– ‘चोर ! चोर ! चोर !’ त्यसपछि मूर्ति त्यतै छाडेर मानिसहरू भागे ।
ललितपुर बुङ्मती मन्दिरपरिसरको एउटा महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा हो– भैरवको मूर्ति । रातो मच्छिन्द्रनाथजत्तिकै प्राचीन र कलात्मक वुङ्मलोकेश्वरलाई अज्ञात समूहले उठाएर लग्यो । लगत्तै त्यहाँबाट एकपछि अर्को मूर्ति हराउन थाले । मान्छेहरूले त्यहाँको तोरण पनि उठाएर लगे । चर्को असुरक्षा र आतंकबाट आत्तिएका त्यहाँका पुजारी–पाँजुहरू सामूहिक रूपमा निवेदन बोकी गुठी संस्थान पुगे । रातो मच्छिन्द्रनाथको मूर्ति कुनै पनि बेला चोरिन सक्ने र मन्दिरमा बस्ने पुजारीहरूको ज्यान पनि असुरक्षित भएकाले पूजा र मन्दिरको जिम्मा गुठी संस्थानले लिनुपर्ने माग पुजारी–पाँजुको थियो । तर, गुठी संस्थान चुप बस्यो ।
ललितपुर, पुल्चोक डाँडामाथिको आकाशयोगिनीको मूर्ति चोरीको पनि प्रयास भयो । फलामे ढोका थियो, त्यसैले चोरहरूले त्यो फुटाउन सकेनन् र भागे । पछि नियमित भजन गर्ने मण्डली डीएसपी कार्यालय पुग्यो, घटनाको जाहेरी दिएर सुरक्षाको माग गर्‍यो । तर, डीएसपीको उत्तर थियो– अबउप्रान्त मूर्ति चोरीको घटनासम्बन्धी उजुरी गर्न मकहाँ नआउनू ।
भक्तपुर, पच्चपन्नझ्याले दरबारअघि उभिएको शिलास्तम्भमाथिको राजा भूपतिन्द्र मल्लको आकर्षक प्रतिमूर्तिबारे मानिसहरू जानकार छन् । सुनको मोलम्बासहित धातुको त्यो मूर्ति कलाकृतिका दृष्टिकोणबाट अनुपम छ । २०४१, चैत २८ को मध्यरात भीमकाय क्रेनसहित अपराधीको एक जमातले त्यो मूर्ति उखेल्न निकै प्रयत्न गर्‍यो । प्रहरी नायब उपरीक्षकको कार्यालय दरबार स्क्वायर परिसरमै थियो । केही जवानसहित डीएसपी रूपकराज शर्मा त्यहाँ आइपुगे । ‘माथिको आदेशबाट आएका हामी,’ क्रेन चलाउनेहरूको स्पष्टोक्ति थियो । त्यो ‘माथि’ को संकेत थियो– नारायणहिटी राजदरबार । तर, डीएसपी रूपकले कुनै कुरै सुनेनन् र त्यहाँ अप्रिय घटना हुन दिएनन् । क्रेन लिएर आएकाहरू फर्के । भूपतिन्द्र मल्लको सालिक उखेलेर लैजाने त्यो योजनामा सफल भएनन् । तर, अवरोध गर्ने डीएसपी रूपक केही दिनपछि नै सर्लाही सरुवा गरिए । र, गोविन्द थापा नयाँ डीएसपी भएर खटिए ।
चोरिएका मूर्तिहरूमा पशुपति बच्छलेश्वरी अवस्थित तेस्रो शताब्दीको नारीशक्ति, पशुपति भुवनेश्वरीकै पाँचौं शताब्दीको विष्णुको मूर्ति र चाबहिलको सातौं शताब्दीको नागराजका मूर्ति सबैभन्दा प्राचीन थिए ।
लैनसिंह बाङ्देलको किताब ‘द स्टोलन इमेजेज अफ नेपाल’ मा त्यस कालखण्डमा चोरिएका २२७ मूर्ति संख्या सचित्र उल्लेख गरिएका छन् । जर्मनीका युर्गेन स्किकले आफ्नो किताब ‘द गड्स आर लिभिङ द कन्ट्री’ मा चोरिएका प्रस्तर मूर्ति र १८० तोरणको चर्चा गरेका छन् । पुरातत्त्व विभागका अधिकारीको अनुमानमा लगभग पाँच सय मूर्ति नेपालबाट हराएका छन् । निजी स्वामित्वमा रहेका ससाना धातुमूर्ति तथा पौभा, थाङ्का चित्र अनि हस्तलिखित ग्रन्थ हराएका अलग्गै कथा छन् ।

फिर्ता भएका चोरिएका मूर्ति
युनेस्कोको महातहतमा सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात–निर्यात र स्थानान्तरणको निषेध तथा रोकथामसम्बन्धी महासन्धि– १९७० क्रियाशील भएयता अन्तर्राष्ट्रिय तहमा नौलो परिस्थिति सिर्जना भयो । विशेषतः नेपालबाट हराएका पुरातात्त्विक–कलात्मक मूर्तिहरू फिर्ताका लागि त्यो महासन्धि बलियो कानुनी आधार बन्यो । स्विडेनकी कलाकार जोय लियन डाभिजको ‘रिमेम्बरिङ द स्कल्पचर अफ काठमाडौं’ परियोजनाका रूपमा अघि बढ्यो । अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट हराएका अनेकन् कलाकृतिसम्बन्धी सचेतना जगाउन यसले अभियानको रूप लियो । अर्कोतिर ‘लस्ट आर्ट अफ नेपाल’, ‘स्टोलन आर्ट्स अफ नेपाल’ का तर्फबाट नेपालबाट हराएका मूर्ति खोज्न संस्थागत प्रयत्न सुरु गरियो । त्योमध्ये ‘पिपुल्स फर द लस्ट आटर््स अफ नेपाल’ सामाजिक सञ्जाल समूह निकै प्रभावकारी देखियो ।
सत्यमोहन जोशीको संरक्षकत्वमा रहेको ‘सम्पदा पुनःस्थापना अभियान’ को भूमिका पनि उल्लेखनीय रह्यो । काठमाडौं उपत्यका संरक्षण गुथिअन्तर्गतको ‘रिमेम्बरिङ द लस्ट स्कल्पचरस अफ काठमाडौं’ पनि यसै अभियानमा थपिएको छ ।
सामाजिक स्तरमा अभियन्ताहरूले देखाएका सरोकारले देशबाट हराएका महत्त्वपूर्ण मूर्तिहरू फर्काइने क्रम सुरु भएको छ । टेक्सास डल्लास, अमेरिकाबाट फर्काइएको ललितपुरको वासुदेव–कमलाज यस क्रमको सबैभन्दा पछिल्लो उपलब्धि हो । डोल्पाको यत्सेर जाङ्गचुयली गुम्बाबाट चोरिएका बौद्ध मूर्तिहरू (जुन ल्हासा पुर्‍याइएका थिए) कुल २८ थिए । हालसम्म स्वदेश फर्काइएका मूर्तिमा त्यो नै ठूलो संख्या हो ।
पुरातत्त्व विभागका अनुसार, हालसम्म संयुक्त राज्य अमेरिकाबाट २३, बेलायतबाट १९, भारत कलकत्ताबाट १३, अस्ट्रिया र जर्मनीबाट एक–एकवटा मूर्ति तथा पुरातात्त्विक वस्तु नेपाल फर्काइएको छ । अझै नेपाल फर्काइनुपर्ने हाम्रा अरू महत्त्वपूर्ण सम्पदा कति छन्, कहाँ छन्् ? थाहा छैन ।

पर्दापछाडिका हातहरू
पुर्खाका श्रम र सिर्जनाबाट निर्मित मानव सभ्यताकै ती धरोहर (जुन नेपालीको पहिचान र गर्वका आधार हुन्) लाई संगठित रूपमा लुप्त पार्ने अदृश्य शक्ति के थियो होला ? पर्दापछाडिका शक्तिहरू को थिए होलान् ?
पाटन दरबार सुन्दरी चोक, धारामा सजाइएका मूर्तिहरू एकपछि अर्को हराए । हनुमानढोका दरबारपरिसरको दिगु तलेजुभित्रका मूर्ति ०२६ सालमा चोरिए । केही समयपछि तलेजु भवानीको शिरमा चढाइएको चाँदीको किकिंपा बेपत्ता भयो । ०९० को भूकम्पमा भत्किएको भक्तपुरको हरिशंकर मन्दिरको सुनको गजुर सुरक्षाका लागि भक्तपुर दरबारभित्र राखियो ।
दस जना मानिसले पनि उचाल्न नसक्ने र मूलढोकाबाट
नछिर्ने त्यो बोझिलो पुरातात्त्विक सामान पछि
त्यहाँबाट हरायो ।
पाटन, भक्तपुर र हनुमानढोका दरबारका सम्पूर्ण जिम्मेवारी दरबार हेरचाह अड्डाको हुन्थ्यो, जुन प्रत्यक्ष नारायणहिटी राजदरबारअन्तर्गत सञ्चालित थियो । ती प्राचीन दरबारहरूका परिसरमै शाही सेनाको टुकडी बस्थ्यो । सुरक्षा उनीहरूकै हुन्थ्यो ? स्वाभाविक प्रश्न हो– यस्ता भौतिक संरचना र सुरक्षाभित्रबाट पुरातात्त्विक महत्त्वका ती सामान हराउन कसरी सम्भव भयो ?
अमेरिकामा रहेकी पत्रकार श्वेता ज्ञानु बानियाँले हालै
ट्वीटरमा सार्वजनिक गरेपछि सिकागो म्युजियममा सार्वजनिक प्रदर्शनमा राखिएको काठमाडौं तलेजु मन्दिरबाट हराएको पुरातात्त्विक हार कहाँ, कुन अवस्था रहेछ भन्ने जानकारी प्राप्त भयो । राजा प्रताप मल्लले तलेजु भवानीलाई चढाएको चाँदीमा सुनको मोलम्बा लगाएको, अष्टमातृका आकृति कुँदिएको मूर्तिसहितको त्यो हार नेपालकै हो भन्ने हाल सालै भेटिएको एक लगतबाट पुष्टि भयो । राजदरबारकै निर्देशनमा ०२७ सालमा तलेजुको सम्पत्तिको लगत राख्न राजदरबारका प्रतिनिधि, अञ्चलाधीशसहितको उच्चस्तरीय समिति बन्यो । पुजारी उद्धव कर्माचार्यका अनुसार, तयार गरिएको लगतसहित तलेजुको त्यस हार र अरू थुप्रै पुरातात्त्विक सामान त्यसै बेला राजदरबारमार्फत गुठी संस्थानको जिम्मा लगाइएको थियो । अहिले त्यो सिकागो म्युजिममा कसरी फेला पर्‍यो ?
जनकपुर जानकी मन्दिरको गरगहना र पुरातात्त्विक सामग्रीका सम्बन्धमा पनि समान कथा छ । महन्त रामशरण दासका अनुसार, २०२० साउन, १२ गते सुरक्षाका लागि भनेर मन्दिरभित्रका हीरामोती र मूल्यवान् पत्थर जडेका सुनका ५६ थान गरगहना अनि ७७ थान चाँदीका पुरातात्त्विक सामान गुठी संस्थानमार्फत दरबारमा बुझाइयो, अहिले त्यसको कुनै अत्तोपत्तो छैन । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको अस्ट्रेलियन महिला सरले म्याकफरेन्ससँगको प्रेम प्रसंग सार्वजनिक भएपछि राजदरबारले ०४५ मंसिर, २८ का दिन विज्ञप्ति जारी गरी धीरेन्द्रको अधिराजकुमार पदवी च्युत गर्‍यो । लगत्तै राजाका एडीसी भरत गुरुङ र आईजीपी डीबी लामा पक्राउ परे ।
तत्पश्चात् राजपरिवारको संरक्षण र निर्देशनमा लामो समयदेखि नेपालभित्र लागूपदार्थको तस्करी र मूर्ति चोरीका गतिविधि हुँदै गरेका घटना उदांगिए ।
नेपाली सेनाका पूर्वरथी तथा राजाका एडीसी कृष्णनारायण सिंह थापाले लेखेका ‘समय सम्झना’ किताबको एक खण्डमा त्यसबखत राजदरकारबाट विदेश पठाइएका सामानका बक्साभित्र चरेस हुन्थे । परराष्ट्रसचिव पद्मबहादुर खत्रीको निर्देशनमा सञ्चालित गोप्य मिसनअन्तर्गत वासिङ्टनको एयरपोर्टमा राजदरबारबाट फिल्मका ३२ वटा रिलका डब्बाभित्र नसालु पदार्थ पठाइएको र त्यो आफैंले खोलेर हेरेको उल्लेख गरेका छन् । हालै योहो टीभीमा अन्तर्वार्ता दिँदै रथी थापाले चोरिएका मूर्ति र नसालु पदार्थको कारोबार राजदरबारबाटै हुने गरेको खुलासा गरेका छन् ।
पत्रकार पद्म ठकुराठीले एक अनलाइनसँग कुराकानी गर्दै त्यस बेला नेपालबाट मूर्तिको तस्करी र नसालु पदार्थको कारोबार राजदरबारबाटै गर्ने/गराउने गरेको ठोकुवा गरेका छन् । त्यस बेला उनी एक साप्ताहिक पत्रिकाको सम्पादन गर्थे र पत्रिकाबाट भूमिगत गिरोहका नाउँमा रहेका एकथरी दरबारिया शक्तिको भण्डाफोर गरिरहेका थिए । मूर्ति चोरी र नसालु पदार्थको तस्करीविरुद्ध पत्रिकामार्फत अभियान नै चलाएका थिए । त्यसै बेला जगत गौचन भन्ने मान्छेले ठकुराठीमाथि गोली चलाए, लामो उपचारपछि उनको ज्यान जोगियो । ठकुराठीको खुला आरोप छ, आफूलाई मार्ने षड्यन्त्र ज्ञानेन्द्र्रकै निर्देशनमा भएको थियो । मूर्ति र नसालु पदार्थको तस्करीमा राजदरबार प्रत्यक्ष संलग्न थियो र त्यसका मुख्य मानिस ज्ञानेन्द्र–धीरेन्द्र नै हुन् भन्ने सार्वजनिक दाबी छ ठकुराठीको ।
राष्ट्रकै पहिचान ती अमूल्य सम्पदा विलुप्त पार्ने विगतका यावत् घटना न कपोलकल्पित थियो, न कसैमाथिको आग्रहपूर्ण आक्षेप नै । मूर्ति चोरीका जेजति घटना भए– ती यथार्थ थिए, जुन निन्दनीय र अपराधजन्य हुन् । हिजोआज सम्पदा संरक्षणमा नागरिकस्तरमै विघ्न सरोकार देखिएको छ । यस्तो बेला विगतमा यस सम्बन्धमा जघन्य अपराध गर्नेलाई आजसम्मै उन्मुक्ति किन होला ? उत्तर कहाँबाट खोज्ने ?

 

कोसेली

छेलिएका मान्छेका कथा

- गणेश राई

 

सन् १९५० । भूगर्भविद् टोनी हागन पहिलोपटक नेपाल प्रवेश गर्दै थिए । कुलेखानीबाट काठमाडौं उपत्यकातर्फ उक्लँदा उनले अनौठो दृश्य देखे– भीमफेदीबाट गाडीका पार्टपुर्जा खोल्न मिल्नेसम्म खोलेर काठ र बाँसको नोलमा राखेर ४० जना भरियाले झ्याइँकुटी पारेर बोकिरहेका थिए । विसं १९८० को दशकदेखि काठमाडौं उपत्यकामा मोटरबाटो बन्न थाल्यो । सडक सञ्जाल उपत्यकाभित्रै सीमित थियो । त्यतिखेर वीरगन्जदेखि भीमफेदीसम्म मात्रै सडक बनेको थियो । ज्यान बाजी लगाएर त्यसरी गाडी बोक्ने मान्छे अहिले जीवित छैनन्, मात्रै त्यस समयका कथाव्यथा जीवित छन् । त्यसबेला गाडी बोक्ने भरियाहरूका दुःखका कथा लेखिएको छ– पत्रकार प्रताप विष्टको नयाँ किताब ‘छेलिएका अनुहार’ मा ।
किताबमा चेपाङ र बनकरिया समुदायमाथि पनि अनुसन्धान गरिएको छ । लेखककै शब्दमा, कान्तिपुर दैनिकमा ०५० असोज १६ देखि ०७८ पुस १० सम्म छापिएका फिचर, समाचार, लेखहरूको संग्रह हो किताब । ४ सय ७२ पृष्ठको किताब चार खण्डमा बाँडिएको छ । पहिलो खण्ड– चेपाङ जाति, दोस्रो– बनकरिया जाति, तेस्रो– भीमफेदीदेखि काठमाडौंसम्म नोलमा गाडी बोकेका भरियाहरूका कथा र अन्त्यमा ती विषय र जीवनसँग सम्बन्धित फोटाहरू संगृहीत छन् । किताबको आवरणमै छ– पुरानो समयमा मान्छेले गाडी बोकेर खोला तार्दै गरेको फोटो ।
काठमाडौंसँगै जोडिएका जिल्ला धादिङ, मकवानपुर, चितवन, गोरखा आसपासका अल्पसंख्यक समुदायको काई लागेका अन्तरवस्तुलाई किताबमा लेखिएको छ । आवाजविहीनका समाचार अखबारमा छापिएपछि बिस्तारै राज्य र विभिन्न निकायको ध्यानाकर्षण भएर सम्बन्धित समुदायले पाएको राहत अनि बदलिएको उनीहरूको जीवनशैली यहाँ लेखिएको छ । त्यसैले ‘छेलिएका अनुहार’ सञ्चारको उज्यालो दस्तावेज हो ।
कान्द्राङ गढी र उपर्दाङ गढीसँग चेपाङको इतिहास जोडिन्छ । राक्सिङ, धिराङ, दामराङ, स्यामराङ, कान्दाराङ, रोराङ, दुमराङ, ब्रुसबाङ नामका भूगोल नै चेपाङका आदिम थलो हुन् । विसं २०३४ मा तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहले चेपाङ जातिलाई ‘प्रजा’ घोषणा गरिन् । त्यसपछि ‘प्रजा विकास कार्यक्रम’ चल्यो । ०४६ को परिवर्तनपछि ‘प्रजा होइन चेपाङ’ अभियान चल्यो । ०५३ मा नेपाल चेपाङ संघ गठन भयो ।
चेपाङका सामाजिक, सांस्कृतिक पहिचान उठान गर्न मिडियाकर्मीले सघाए । ‘दर्दनाक जीवनबाट मुक्त भएका छैनन् चेपाङ जाति’ शीर्षकमा समाचार छापियो– ०५० असोज १६ गतेको ‘कान्तिपुर’ मा । त्यसपछिका दिनमा चेपाङहरूको अभाव, दुःख–पीडा, संघर्षका कथा–व्यथा निरन्तर समाचार बन्दै गए । ओढारमा च्यापिएर दुःख लुकाउने चेपाङहरूले पत्रकार र मिडियाको भूमिका चिन्न थाले । ‘अझै चार इन्चको लँगौटीमा प्रजा’, ‘प्रजाहरू अझै महाभारतका ओढारमा’, ‘चेपाङ बस्तीमा भोकमरी’, ‘चिउरीको घिउले दसैं मान्छन् चेपाङहरू’, ‘सामुदायिक र कबुलियती वनले चेपाङको उठीबास’ टाउका भएका समाचार त्यसका उदाहरण हुन् ।
चेपाङसँग घरजग्गाको लालपुर्जा छैन, तर ‘चेपाङसँग चिउरीको लालपुर्जा’ छ, जुन जिल्ला वन कार्यालयले दिने गर्छ । ‘गिट्ठाभ्याकुर बोकेर चेपाङ आन्दोलनमा’ छापिन्जेल चेतनास्तर माथि उठेको भनेर बुझ्न सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण हुँदै गर्दा चेपाङ संघले ‘चेपाङ स्वायत्त प्रदेश’ को माग अघि सारेको थियो । मकवानपुर, चितवन, धादिङ र गोरखामा १ हजार १ सय ३८ किलोमिटर क्षेत्रफललाई चेपाङ स्वायत्त प्रदेश हुनुपर्ने संघले भनेको थियो । समुदायको माग संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि संविधान जारी भएसँगै छरपस्टिन पुग्यो । चेपाङको भूगोल टुक्रियो । उनीहरूले सामाजिक सुरक्षा भत्तामै चित्त बुझाएका छन् ।
गिट्ठाभ्याकुर र भार्लाङजस्ता कन्दमूल खाएर जीविकोपार्जन गर्ने चेपाङ सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये एक हो । २०६८ को जनगणनाअनुसार, चेपाङ जातिको जनसंख्या ६८ हजार ४ सय छ, जसमा ७१ प्रतिशत चेपाङ मातृभाषा बोल्छन् । चेपाङ भाषाको अध्ययन अनुसन्धान भएर पठनपाठनसमेत भइरहेको छ ।
यसैगरी सूचीकृत आदिवासीमध्ये बनकरिया जाति पनि एक हो । फिरन्ते जीवन त्यागेर स्थायी बस्ती बसाएर ‘घरबास’ (होमस्टे) समेत सञ्चालन गर्न थालेका छन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई मकवानपुरको मनहरी हाँडीखोला मुसेधाप बस्तीमा एक रात बनकरियाको घरमा बास बस्न पुगेका थिए । भट्टराईले बनकरियाका परम्परागत खान्की गिठ्ठाभ्याकुर र कोदोको ढिँडो भोर्लाको पातमा खाए भन्ने समाचारले खुबै चर्चा पाएको थियो । तर, जनगणनाको तथ्यांकमा बनकरियाको जनसंख्या उल्लेख छैन । विज्ञले बनकरियालाई चेपाङ जातिकै एक हाँगा र बनकरिया भाषा चेपाङ भाषाको भाषिकाका रूपमा उल्लेख गरेका छन् ।
‘छेलिएका अनुहार’ इतिहास हो, सँगै आदिवासी जनजातिअन्तर्गतका चेपाङ र बनकरियाको दस्तावेज पनि । पूर्वप्रकाशित सामग्री हुबहु साभार गर्नुभन्दा लेखकले चेपाङ र बनकरियाको वर्तमान
अवस्थामाथि थप अध्ययन गरेको भए किताब झन् पठनीय हुनेथियो ।

कोसेली

चन्द्र गुरुङका भावप्रवण कविता

- हरि अधिकारी

 

केही समयअघि पाठकको हातमा आइपुगेको कवि चन्द्र गुरुङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ मा समेटिएका मर्मस्पर्शी कविताहरूको सामर्थ्यमा हालका दिनमा नेपाली भाषामा प्रकाशित काव्य–कृतिमध्ये सर्वाधिक चर्चित किताब बन्न पुगेको छ । निकट विगतका धेरै वर्ष देशबाहिर रहेकाले नेपाली पाठकबीच तुलनात्मक रूपमा कम परिचित र प्रायोजित प्रचार–प्रसारबाट टाढा रहँदै आएको एक शिष्ट, विनम्र कविको यो किताबले पाएको चर्चा–प्रशंसालाई नेपाली कविताको दुनियाँमा घटित एउटा दुर्लभ घटनाका रूपमा लिन सकिन्छ ।
कवि चन्द्र गुरुङले नेपाली कविताका अध्येताहरू, साधारण पाठकहरू र काव्य–विवेचकहरूबाट समान रूपले पाएको यो स्नेह र अनुशंसाका पछाडि यस संग्रहमा संकलित केही उत्कृष्ट कविताहरू छन् । यी भावप्रवण कविता पछिल्लो छिमलमा नेपाली भाषामा लेखिने गरेका अधिकांश कविताभन्दा पृथक् त लाग्छन् नै साथै ती गहन मानवीय संवेदनाले भरपूर, आत्मीय र कमनीय पनि छन् । पाठकको दिमागलाई होइन दिललाई छुन खोज्ने चन्द्रका यी कवितालाई थोरै शब्दमा अर्थ्याउँदा यिनलाई सरल र प्रस्ट बुझिने भाषामा सुनाइएका मानवीय संवेग, पीडा र वेदनाका गीत पनि भन्न सकिन्छ । साथै यी कविताले मीतभाष र शाब्दिक अनुशासनका उम्दा बान्की पनि प्रस्तुत गरेका छन् ।
आजको अत्यन्त तरल राजनीतिक पर्यावरणमा अधिकांश नेपाली जनताजस्तै कवि–लेखकहरू पनि नेपाली राजनीतिले लिएको विपथगामी गति र दिशाप्रति उग्र रूपले प्रतिक्रियात्मक भएका छन् । त्यसैले तिनले धेरै नै वाचाल भएर कवितालगायत साहित्यका अन्य विधालाई समेत आफ्नो राजनीतिक एजेन्डा मुखरित गर्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छन् । यस सिलसिलामा कुनै कवि–लेखकले नेपाली समाजमा विद्यमान सामाजिक विभेदका मुद्दालाई आफ्नो अभिव्यक्तिको मुख्य विषय बनाएका छन् भने कुनैले पहिचानको मुद्दालाई प्रमुख रूपमा उठाएका छन् । अन्य कतिपयले देशमा राजनीतिक परिवर्तनका सँगसँगै भित्रिएका विकृति, विसंगति, सांस्कृतिक चेतनाको तिरोहण र भ्रष्टाचारको विरोधमा आवाज घन्काउन साहित्य, खासगरी कविता विधालाई माध्यम बनाएका छन् । राष्ट्रिय राजनीतिले नै गलत बाटो पक्डिएर सुव्यवस्था र सुशासनका आधारशिलाहरूलाई ध्वंस पारेको परिदृश्यमा रचिने साहित्यको मूल स्वर कर्कश सुनिनु सायद स्वाभाविकै हो ।
देशमा व्याप्त चरम् बेथिति र अनाचारका कारण आम नेपाली जनताजस्तै स्रष्टाहरू पनि असहाय बनेका र कुण्ठाग्रस्त स्थितिमा बाँचिरहेका छन् । आक्रोशित र कुण्ठित कवि–लेखकहरूले आफूभित्र गुम्सिएर रहेको विद्रोही चेतनालाई निकास दिँदै देशमा व्याप्त विकृति र विसंगतिमाथि प्रहार गर्न तिनका विरुद्ध मुखर टिप्पणी गर्ने साहित्य रचना गर्नु न अस्वाभाविक हो न बेठीक नै । तर, आक्रोशको भट्टीबाट निस्केका त्यस किसिमका विद्रोही रचनाहरू वाचाल किसिमले प्रतिक्रियात्मक र कलात्मक प्रस्तुतिका दृष्टिले निम्छरो हुने जोखिम रहन्छ । पछिल्लो छिमलका कतिपय नेपाली कवि–लेखकहरू त्यही जोखिमको चपेटामा परेकाले तिनका धेरैजसो रचनाहरूले लय, रस र लालित्य गुमाएका छन् ।
चन्द्र गुरुङका कविता त्यस जोखिमबाट मुक्त रहेको देखिनुलाई म नेपाली कविताको भविष्यका दृष्टिले एउटा सुखद विषय मान्छु । प्रायः चिच्याएर आफ्नो कुरो राख्न खोज्ने हालका दिनहरूमा लेखिइरहेका कविताहरूको बेतरतीव भीडमा चन्द्र गुरुङका शान्त र सटीक विम्बको भाषा बोल्ने कविता ताजा बतासको झोक्काजस्तै लाग्छन् । चन्द्रका कतिपय कविताले पनि राजनीतिको भाषा बोलेका छन्, तर ती यति मधुर स्वरमा
आफ्नो कुरा राख्छन् पाठकसम्म तिनले सन्देश मात्रै पुर्‍याउँदैनन्, साथसाथै मीठो कविताको स्वाद पनि चखाउँछन् ।
चन्द्रको काव्य–शिल्पबारे मैले भन्नूपर्ने एउटै कुरा छ– कतिपय कवितामा उनी दोहोरिएका छन् र कतिपय कवितालाई ज्योमेट्रीको थ्योरममा जस्तै निष्कर्षमुखी बनाएका छन् उनले । कतिपय कविताका अन्त्यका केही हरफ झिकिदिँदा कविताको गुणवत्ता बढ्ने स्थिति पनि देखिएको छ । यो उम्दा कविताकारिता हुन सक्दैन ।

Page 11
कोसेली

आत्मा चर्ने ठाउँ

- रोशन शेरचन

 

जलवायु परिवर्तनसम्बन्धी गोष्ठी सकेर २२ फेब्रुअरी, २०२२ मा सहकर्मीहरू लक्ष्मी भट्ट, शंकर पौडेल, मनीष श्रेष्ठ, ज्ञानेन्द्र जोशी र म पोखराबाट फर्कंदै थियौं । मर्स्याङ्दी खोलाको दृश्यले गोष्ठीको थकान बगाउँदै लगिरहेको थियो । आँबुखैरेनी नजिक टायर पन्चर भयो । ताजा हावा लिन गाडीबाट बाहिर निस्क्यौं । तोरी फुलेको पहेँलपुर बारी देखियो । बल्ल पो दृष्टि त्यतातिर गयो । देख्नलाई त रोकिनुपर्ने रहेछ ।
दार्शनिक स्वभावका लक्ष्मी भट्टलाई म २७ वर्षदेखि चिन्छु । जीवनका आधारभूत प्रश्नप्रति जिज्ञासु र निर्भीक छन् उनी । २५, २६ वर्षको उमेरमा हामी वन क्यापसमा दर्शन र अध्यात्ममाथि खुब कुराकानी गर्थ्यौं । ओशो, यूजी कृष्णमूर्ति र जे. कृष्णमूर्तिका पुस्तक पढेपछि अनेक तर्क–बितर्क गर्थ्यौ । पाठ्यक्रमबाहिरको संसार चियाउन रुचाउने कमै विद्यार्थीमध्ये हामी थियौं ।
चालक लक्ष्मीनारायण पन्चर भएको टायरको सट्टा जगेडा टायर हाली नटबोल्ट कस्दै थिए । भट्ट तोरीबारी पुगेर सेल्फी खिच्न भ्याइसकेछन् । भन्दै थिए, ‘यो लोकेसन परफेक्ट छ, नजिक तोरीबारी, तल खोला, पारि खेत, माथि डाँडा ।’ प्रत्येक परतमा सौन्दर्य बोकेको त्यो ल्यान्डस्केप वास्तवमै अद्भुत थियो । टायर पन्चर नभएको भए त्यो दृश्य छुट्ने रहेछ । विश्रामको सौन्दर्य नै यही हो ।
केहीबेर पहेंलपुर सौन्दर्यमा मुग्ध भएपछि हाम्रो चर्चा सुन्दरताकै विषयमा मोडियो । प्रश्न उठ्यो– सुन्दर ठाउँ, सुन्दर दृश्य वा सुन्दर वस्तुलाई कुन शब्दले अभिव्यक्त गर्दा सुन्दरताको सम्पूर्णता समात्न सकिएला ? ‘सुन्दर’, ‘मनमोहक’, ‘मनोरम’, ‘रमणीय’, ‘चित्ताकर्षक’, ‘अद्भुत’ जस्ता प्रचलित विशेषण अत्यधिक प्रयोगले खिइसके । क्लिशे भएपछि शब्दको ओज क्लान्त हुँदै जान्छ । त्यसले ताजगी गुमाउँछ र नवीनता हराउँछ– शरीर त भएको, तर आत्मा नभएको । कुनै पनि शब्दले सुन्दरतालाई सम्पूर्णत (अनुभूत गरेजति) अभिव्यक्त गर्न नसक्ला भन्नेमा हाम्रो सहमति रह्यो । तर, कुन शब्दले बढीभन्दा बढी अनुभूतिलाई दर्साउने सामर्थ्य राख्ला ? उत्तर फेला परेन ।
शंकर कम बोल्थे, तर बोलेपछि च्याप्पै चुरो समात्थे । मनीष ऋषि–मनीषीजस्तै अल्पभाषी र ओशोबाट प्रभावित । जोशी वाचाल । जगेडा टायर फेरिएपछि त्यस अनुत्तरित प्रश्नलाई पहेंलपुर प्रदेशमै छाडेर गाडीले पुनः लय समात्यो ।

सहयात्री को हो, कसरी थाहा हुन्छ ?
‘एन अनएक्जामिन्ड लाइफ इज नट वर्थ लिभिङ’
– सुकरात
जीवनकै लघुरूप हो– यात्रा, माईक्रोकोज्म् । यात्रामा यात्री, पदमार्ग, सहयात्री र गन्तव्य हुन्छन् । समयक्रममा यात्री, पदमार्ग, सहयात्री र गन्तव्य फेरिन्छन् । स्वयम् यात्री पनि अनुभव र चेतनाले उही रहँदैन । न त शारीरिक र मानसिक स्वास्थ्यले उही हुन्छ । पदमार्ग बदलिन्छ, आन्तरिक वा बाह्य कारणले । मार्गका यसै पनि अनेकन् रूप छन्– गोरेटो, घोडेटो, कच्चा, ग्रेबल, पक्की । कहीँ त मार्ग देखिँदैन । हिँड्दै बनाउनुपर्छ, जस्तो वनको बाटो । रेडिमेड बाटो जीवनमा सधैं कहाँ उपलब्ध हुन्छ र ? नयाँ बाटामा हिँड्दा नै त हो नवीन अनुभव प्राप्त हुने ।
मार्ग र गन्तव्यजस्तै सहयात्री पनि बदलिन्छ । यात्राको आरम्भदेखि अन्त्यसम्म आफूसँग हिँड्ने आफैं नै हो । सहयात्रीहरू कुनै मोड, बिसौनी वा गन्तव्यसम्म सँगै हिँड्लान् । सहयात्रीका साथ–सहयोगले देउराली उक्लन र गन्तव्य भेट्न सघाउँछ । प्राथमिकता फेरिएपछि सहयात्री पनि आफ्नै गन्तव्यतिर मोडिन्छ । त्यसो हुनु स्वाभाविक हो । त्यसलाई स्वाभाविक रूपमा लिन सक्नुपर्छ– जसरी मेरो गन्तव्य छ, उसको पनि आफ्नै गन्तव्य हुन्छ ।
कोही सहयात्री बाटामा भेटिन्छन् । केही माइल सँगै हिँड्छन् । इच्छा र सामर्थ्यअनुसार कोही पछाडि छुट्छन्, कोही अघि कुद्छन् । कोही लामै बाटो हिँड्छन् र भन्ज्याङ्–चौतारी, झरी–असिना, भोक–प्यास र अनिद्राबीच प्राणदायिनी चौताराजस्तै भावनात्मक ऊर्जा दिइराख्छन् । तर, सधैं कसले साथ दिन्छ र ? कसले दिन सकेको छ र ? अनि एउटा समय आउँछ, जब जीवनको कुनै विन्दुबाट हेर्दाहेर्दै, नचाहँदा–नचाहँदै ऊ मोडिन्छ र मनको अन्तरमा उदासी भाव उत्पन्न गर्दै बिलाउँछ । त्यस्तो समय मनमा भाव आउँछ– अब यात्रा टुङ्ग्याऊँ, एक्लै अघि बढ्न सकिन्न । सहयात्रीले बनाएको भावनात्मक वा मनोवैज्ञानिक आलम्बमा मन कमजोर भइसकेको हुन्छ । तर, मनको पछिल्लो किनारमा एउटा ध्वनि उठ्छ– ‘यात्रा रोक्नु हुँदैन, यात्रा रोकिनु जीवन रोकिनु हो । मौसम खुलोस्– नखुलोस्, सहयात्री होस्–नहोस् । पदमार्ग बदलियोस्–नबदलियोस् । यात्रा चल्नुपर्छ ।’ यात्रा केवल साधन होइन, स्वयम्मा साध्य हो ।
यात्रामा ननिस्केसम्म सहयात्री को हो, कसरी थाहा पाउने ? थाहा पाउने एउटै उपाय छ, यात्रामा निस्कने । कोही मित्र सहयात्री नबन्दा दुःख लाग्छ, तर दोष दिने विषय होइन । कति मित्र चाहना गर्छन्, तर यात्रा गर्न सक्दैनन् । बानी परेको हुन्न । ती एकाध घण्टामै थाक्छन् र उच्चाटपूर्ण स्वरमा भन्छन्– अब अघि बढ्न सकिन्न । त्यस्तोमा दुःख मनाउ गरेर पनि भएन । मित्रले चाहना गरेकै हो, नसकेपछि के लाग्छ ! कोही मित्र हुन्छन्, सामर्थ्य राख्छन्, तर प्राथमिकता फरक पर्नाले अर्कै दिशातिर मोडिन्छन् । त्यस्तोमा पनि केही गर्न सकिन्न ! त्यस्तो बखत बुद्धिमानी बरु उसको सफल–यात्राको कामना गर्नु हुन्छ । रुचिको विविधतालाई जति चाँडो कदर गर्न सक्यो, जीवन उति सहज र सुन्दर !
सहयात्री को हो ? आराम कुर्सीमा बसेर थाहा लाग्दैन । जुत्ताको फित्ता कसेर, झोला भिरेर यात्रामा निस्केपछि मात्रै थाहा हुन्छ । करिब २३ वर्षअघि साप्ताहिक ‘बुधबार’ मा यस्तै विषयमा कविता पठाएको रहेछु– ‘यात्री छोरा’ शीर्षकमा । कवितामा पिताले यात्री छोरालाई सम्बोधन गरेको छ । अहिले नियाल्दा पाउँछु– यात्रा, सहयात्री, दिशा, अठोट विम्बहरूको भ्रूण ऊबेलै मस्तिष्कमा रोपिएको रहेछ ः
छोरा / जुत्ताको फित्ता कस / अब यात्रा सुरु हुँदै छ
कस्यौ ? / एकपटक फेरि जाँच
नकस्सिएका जुत्ताहरू यात्रा गर्न सक्दैनन्
छोरा / एकपल्ट मतर्फ हेर्दै उभिऊ / कस्सिएको अठोटहरूले / कस्सिएको जुत्ता लगाएको हेर्न चाहन्छु
आहा / कत्ति उज्यालो तिम्रो अनुहार
र, तेजिलो तिम्रो आँखा / छोरा,
अनुहारको आँखाले गन्तव्य हेर्नू
र, खुट्टाको आँखाले दिशा पहिल्याउनू
छोरा / मनको फित्ता कस
यात्रामा सहयात्री कोही नहुन पनि सक्छ ।

हाइकिङ विहङ्गम
अधिकांश आम नेपालीझै एक दिन म पनि सपना बोकेर चार भन्ज्याङ काठमाडौं छिरेँ । काठमाडौं उपत्यकामा मैले थालेको रुचि हो– हाइकिङ । सन् २०१२ मा मैले जागिर छाडेँ, केही समय स्वयम्लाई दिन्छु भनेर । त्यो सही–गलत के थियो, समयलाई छाडिदिएको छु । तर, त्यो कठोर निर्णय थियो । जागिर छाड्नुका पाँच, छ कारण थिए– २० वर्ष जागिर गरिसकेको थिएँ, (नौलो लाग्न छाडेको थियो) पीएचडी गर्ने, पुस्तक पढ्ने, साहित्य कर्म गर्ने र घुम्ने । हाइकिङ सन् २०१२ देखि निरन्तर छ । लामो पदयात्रा (ट्रेकिङ) गर्न धेरै कुरा मिल्नुपर्छ । हाइकिङ सहज छ– ६, ७ घण्टा निकाले पुग्छ ।
काठमाडौं उपत्यका वरपर दर्जनौं रमणीय ठाउँ छन् । तीमध्यका अधिकांश हाइकिङ गन्तव्य छिचोलिसकेका छौं । चन्द्रागिरि, लाँकुरी भन्ज्याङ, शिवपुरी राष्ट्रिय निकुन्ज, मुलखर्क, चिसापानी, सेतोगुम्बा, चम्पादेवी, नमोबुद्ध गुम्बा, पनौती, चाँगु नारायण, साँखु, दहचोक, थानकोट, चित्लाङ, सुन्दरीजल, पाइलटबाबा मन्दिर आदि ।
सबेरै निस्कियो, बेलुकीसम्म घर फर्किन सकिन्छ । लामो पदयात्राको अवसर हत्पती मिल्दैन । त्यसैले ट्रेकिङको तलतल मेट्न हाइकिङ गर्छु । त्यसले हिँड्ने बानीलाई भुत्ते हुनबाट जोगाउँछ साथै शरीर र मानसलाई तयारी हालतमा राख्छ । इच्छालाई शारीरिक र मानसिक अवस्थाको साथ अनिवार्य छ । इच्छा सात हातअघि, तन्दुरुस्ती दस हात पछि हुँदा दुःख पाइन्छ । मसँग त्यस्ता हाइकिङको सम्झना छन्, जहाँ पहिलोपटक जोडिएका केही साथीहरू बढ्तै हौसिएर सुरुमा सबैलाई उछिन्दै लम्किए, तर केहिबेरमै थाकेर ब्यर्थ आएछु भन्नेजस्तो अनुहारको भाव बनाए । यात्रा कहाँ ठट्टा हो र ?
हाइकिङलाई एकै बसाइमा सकिने कथा भन्न सकिन्छ, एकै बसाइ अर्थात् हाइकिङको अर्थमा एक दिन । ट्रेकिङचाहिँ उपन्यासजस्तो– एकै बसाइमा नसकिने, केही दिन वा हप्ता लाने, रात बाहिर बिताउनैपर्ने । एघार वर्षको हाइकिङ अनुभवलाई सर्सती हेर्दा मेरा सहयात्री दुई क्षेत्रका छन् । पहिलो, वन तथा वातावरण क्षेत्र । दोस्रो, साहित्य ।
अनुभव पनि बहुरंगी छन् । हाइकिङका रङ, स्वाद र छटा जीवनसादृश्य छन् । व्यस्त जीवनबाट केही क्षण बाहिर निस्किऔं, प्रकृति र चराचुरुंगीको सामीप्यमा बिताऊँ भन्यो केही सहयात्री यात्रामा पनि राजनीतिक बहसमै अल्झिन्छन् । हरेक राजनीतिक घटनाक्रममा आफ्नो दृष्टिकोण नराखे सचेत नागरिक भइन्न भन्ने हामीमाझ ठूलो रोग छ । सहिष्णु भई संवाद गर्ने होइन, प्रतिष्ठाकै विषय बनाउने । पतर–पतर बोल्नेसँग हाइकिङ नजानु नै बेस !
कम्तीमा ४, ५ घण्टा स्याँस्याँ हुने गरी हिँडौं भन्यो, एकै घण्टामा चियापसल खोज्ने सहयात्री पनि भेटिए । एक घण्टा हिँड्यो, चौतारा खोज्ने अल्छे सहयात्री पनि भेटिए । ४ जनाभन्दा ठूलो समूह भयो भने गफमा रल्लिने सम्भावना बढ्दो रहेछ । केही हाइकिङ भने वास्तवमै स्मरणयोग्य बनेका छन् । साहित्य, सिनेमा र संगीतका अर्थपूर्ण कुरा गर्दै लगातार चार–पाँच घण्टा हिँडेको, घना वनमा विश्राम लिँदै घरबाट ल्याएको मकै–भटमास खाएको, वनजंगलको गहिरो निवरतालाई अनुभव गरेको प्रगाढ सम्झना पनि छन् ।
साहित्य र दर्शनमा कुराकानी गर्दै थुम्कोमा बिसाएर दृष्टिभरि फैलिएको उपत्यका र बस्ती हेर्नुजति आनन्द म अरूमा भेट्टाउँदिनँ । यस्ता अन्तरंग संवादले सहयात्रीलाई चिन्न सघाउछ । विमोचन, साहित्यिक कार्यक्रममा भेट नहुने होइन, तर त्यस्ता भेट ज्यादै औपचारिक हुन्छ । मैले त्यो भेटलाई ‘अनुहार देखाउने भेट’ भनेको छु । तर, हाइकिङमा प्रकृतिनजिक भएर होला, सहयात्रीहरू अनौपचारिक बन्छन् र मनैदेखि खुल्छन् । त्यस्तालाई ‘मन खुल्ने भेट’ भनेको छु ।
कुनै हाइकिङचाहिँ वनभोजजस्तो भइदिन्छ– बिजुली पानीबाट सुरु भएर बिजुली पानीमै सक्किने । खोकना हाइकिङ त्यस्तै थियो । कीर्तिपुरको डाँडामा बसेर चोभार हेर्दै केही पेग ह्विस्की बुत्याएपछि रमरम हुँदै ओरालो झरेका थियौं । प्रिकोरोना काल– सहयात्री राजकुमार बानियाँ, गुरुङ सुशान्त, विमल आचार्य र म । खोकना आउनुअघिको फाँटको नेवारी खाजा घरमा बियर थप्यौं । टन्टलापुर घाम छ, तालु सेकाउँदै मातमा खेत–खेतै हिँडेका छौं । तै हावा मज्जाले लागेकाले शीतल भएको थियो । बिजुलीपानीको कडकमा फर्कंदा लखतरान, थकित, गलित भएको स्मृति सम्झँदा हाँसो लाग्छ । स्वस्थ हुन हाइकिङ गर्छु भन्ने, तर बिजुलीपानीले झन् रोग नित्म्याउने ।

स्वर्गको टुक्रा खसेर...
अनुभूत गर्ने तहको सुन्दरतालाई कुन शब्दले अभिव्यक्ति गर्ला भन्ने प्रश्नले मथिंगल खल्बल्याइरहेकै थियो । उम्मेदवार पदावलीहरूलाई मस्तिष्कको एउटा कुनोमा उभ्याएँ र मनमनै सोचेँ । आधा दर्जन उम्मेदवार शब्दहरूलाई खारेज गरेपछि एउटा शब्दमा दृष्टि गयो– आत्मा चर्ने ठाउँ । ठाउँ, दृश्य वा ल्यान्डस्केप यति सुन्दर होस् कि त्यहाँ आत्मा पनि चर्न मन गरोस्– सुन्दरताको चूडान्त, अल्टिमेट । आत्मालाई त्यहाँ विचरण गर्न मन लागोस् । आत्मामा मेरो विश्वास छैन । भौतिकवादमा विश्वास हो यद्यपि पूर्णतया भौतिकवादी हुन सकेको छैन । आत्मा कुन अर्थमा भन्दा, शरीर र मानसभन्दा भित्र पनि केन्द्र छ । धार्मिक विश्वासअनुरूप शरीर नष्ट भए पनि नामेट नहुने आत्माको अर्थमा होइन ।
शरीर, मानस र आत्मा एकत्वमा मिलेको, प्राकृतिक सौन्दर्यमा लीन भएका केही स्मृति छन् । सबै त्यस्ता स्मृति ३,०००–३,२०० मिटरमाथिका स्थानमा यात्रा गर्दा बनेका हुन् । ३,००० मिटरभन्दा अग्लो ल्यान्डस्केपमा पदयात्रा गर्नु अतिरेक आनन्द हुन्छ, जहाँ मान्छेका कोलाहल र तुच्छता उक्लिन नसकोस्, जहाँबाट डाडाँकाँडा तल वा समान उचाइमा देखियोस् । घना जँगलहरू क्रमशः झाडीदार बुट्यानहरूमा फेरिदै हिमरेखा पनि तल ओर्लियोस् मानौ सेतो खाँदा लिएर स्वागत गर्न झर्दै छ । हिउँले खाएका बन्जर भूमि नजिकिऊन् । र, क्षितिजमुनि मानव बस्तीहरू त्यसरी नै चलमलाऊन्, जसरी माउको शरीरमुनि छोपिन चल्लाहरू चलमलाउँछन् ।
उच्च लेकाली खर्कमा आँखाले नभ्याउने दूरीसम्म दृष्टि फैलाउन सकिन्छ । मान्छेले कल्पना गरेजति सबै गर्न सक्दैन, तर चाहेजति टाढा पनि हेर्न नसक्ने अवस्था यथार्थमै अत्यासलाग्दो हुन्छ । उच्च हिमाली क्षेत्रमा त्यो अत्यास छैन । कुनै थुम्कोमा बसेर दक्षिणतिर नियाल्ने हो भने सुदूरसम्म हेर्न सकिन्छ । त्यही दूरीबीचको स्पेसमा यात्रीका सपनाहरू चल्ला कोरल्न ओथारो बस्छन् । धुपी, प्रिमुला, जंगली गुलाफ, बिखमा, यार्चागुम्बु र अन्य लेकाली फूलहरूको महकले लठ्याउँछ । हिमाच्छादित ताल कतै भेटियून, आकाश पातलिँदै गएको वायुमण्डलमुन्तिर प्रगाढ नीलो बनोस् र राभेनका (हिमाली काग) बथान सीमाहीन आकाशमा कावा खाऊन् । मान्छेका पदचिह्न टाढाटाढासम्म नभेटियून् । कालीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, तमोर नदीहरू खोल्सो बनेर बगून् छेवैमा, त्यस्ता ठाउँमा पाउ पर्दा पनि ध्यानस्थ अनुभूत हुन्छ । झेन अनुभूति यस्तैलाई भन्दा हुन् ।
करिब दस वर्षअघि, ताप्लेजुङको सदरमुकाम फुङलिङबाट चार–पाँच दिन हिँडेर घुन्सा पुगेका थियौं । दुई जना स्थानीय सहयात्री थिए । घुन्सामा हिमाली चुङ्दाकहाँ नुनचिया र सातु खाई बिहान हिँडेको साँझ खम्बाचेन भ्याली पुग्दा मलाई त्यस भूखण्डको सम्मोहनले छोपिसकेको थियो । त्यस्तो निर्जनतामा कस्तरी आनन्द आएको ? सहरी मनले सोध्छ । मन सायद आदिम नै छ । कोलाहलहरू वर्जित हुने निर्जनतामा प्रकृतिवाणी सुनिन्छ । प्रगाढ नीलो आकाश, राभेनको कावा, हिमताल, चौरीको बथान, खोला किनार, लेकाली वतासमा एक्लै झुलिरहेको फूल, मान्छेका पैतालामुनि खिइँदै गएको धुपीसल्लाको काठे पुल, लेकाली बतासको ध्वनिमा प्रकृति बोल्छ । खोलाको पानी मात्र होइन, त्यसबाट निसृत कलकलको आवाज पनि सङ्लो लाग्छ । दृश्य–सादृश्य आवाज पनि सङ्लो सुन्नु, त्यो पक्कै सामान्य अनुभूति होइन ।
रसुवाको नागथली उक्लँदा पनि आनन्दको सहस्र धारा फुटेको थियो । स्याफ्रुबेंसी, गत्लाङ, चिलिमे, तातोपानी हुँदै नागथलीको पदमार्ग बिछट्टै मौलिक छ । माने, लुङ्दर, गुम्बा, तामाङको संस्कृति र जीवनशैली नियाल्दै उकालो–ओरालो गर्‍यौं । मोबाइलमा वव डिलन, मार्क नफलर, नेपथ्य वा विपुल क्षेत्रीको संगीत बजेको होस् । रुखका पातहरूलाई स्पर्श गर्दै बतास चलोस् र लाङटाङ लिरुङ हिमाल सामुन्ने देखापरून् । शताब्दियौंदेखि हिउँको विशाल खातहरू बोकेर निरपेक्ष उभिएको हिमाल स्थितप्राज्ञ होऊन्, त्यस्तो प्रभावलाई अभिव्यक्त गर्न वास्तवमै कठिन हुन्छ । करिब पाँच, छ वर्षअघिको घटना हो– तातोपानीमा बिहानी खाजा खाएर रसुवाका सहयात्रीसँग नागथली उक्लियौं । रातभर नागथलीमा हिउँको तन्ना हालेर फर्कंदै गरेको प्रकृतिलाई बाटामा भेट्यौं । आकाशको अनन्त क्यानभासमा बादलका हल्का स्ट्रोकहरू देखिन्थ्यो । प्रकृति नीरवतामा डुबेको थियो । त्यस्तो नीरवताले मनमा गहिरो शून्यता भर्दोरहेछ । बुटले हिउँ कुल्चदाको चरप–चरप र आफ्नै स्याँ–स्याँको ध्वनि मात्रै अस्तित्वमा थियो । होटेल, गेस्टहाउसको नाम लेखिएको संकेत चिह्न देखेपछि नागथली नजिक आइपुगेको थाहा भयो । बाटो नजिककै एउटा होटलमा विश्राम लियौं, ब्लाक टी पियौं । वातावरणमा ग्यासको आवाज, भान्सामा भाडाँकुँडा बजेको र आँगनछेउ पाइपबाट खसेको पानीको ध्वनि मात्रै सुनिन्थ्यो । मेरो मानसमा नागथली यात्राको स्मृति अमिट बसेको छ । तामाङ हेरिटेज ट्रेलमा पर्ने नागथलीमा एक रात बिताउने रहर छ । लाङटाङ लिरुङ हिमाललाई साक्षी राखेर नागथली थुम्कोबाट तारामण्डल हेर्ने इच्छा छ ।
यात्राको स्मरण गर्दा मानसपटलमा कर्णालीको यात्रा पनि उतिकै आउँछ । झन्डै महिना दिनको त्यो यात्रा जीवनकै अविस्मरणीय यात्रा थियो । कर्णाली प्रदेशको पर्यटन गुरुयोजना बनाउने सिलसिलामा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्ला पुग्ने अवसर जुर्‍यो । जुम्ला सदरमुकाममा गोष्ठी सकी रारा जाने योजना बन्यो । रारा जाने, तर गाडीबाट नजाने । कर्णाली हाइवेमै गाडी छाडी पैदलै जाने । खाडापानी ओर्लेर मालिकाबोंता, रातेचौर, गोरुसैना, चुच्चेमाराको बाटो समात्ने योजना बन्यो । खाडापानी ओर्लंदा साढे एक बजिसकेको थियो । एकाध घण्टाको उकालो चढेपछि रातेचौर आइपुग्यौं । कनकासुन्दरी गाउँपालिकामा पर्ने रातेचौरमा पहेँलै प्याउली फुलेको थियो । त्यो उचाइमा यति फराकिलो चौर होला भन्ने कल्पनामा पनि थिएन । अद्भुत सौन्दर्यको फाँट लाग्यो, रातेचौर– देवदार, लोठसल्ला, भोजपत्र,
थिङ्ग्रेसल्ला, खस्रु, गुराँसको घना जंगलले घेरिएको । चौरमा बस्तुभाउहरू चरिरहेका देखिन्थे । यत्रतत्र गोठालाका टेन्टहरू थिए । उत्तर दिशाको भिरालोमा परम्परागत बान्कीका घरहरू देख्दा काल्पनिक लोकमा आइपुगियोजस्तो लाग्यो । चौरमाझ कलकल ध्वनि निकाल्दै खोल्सा बगेको थियो । त्यसैको किनारै किनार हिँडे । मन आक्कासिँदै गएको थियो । आकाशजस्तो विराट चौरमा जता हिँडे पनि स्वतन्त्रता । स्वर्गको टुक्रा खसेर बनेको रातेचौर, मेरो आत्मा चर्ने ठाउँ ।

यात्राको मार्ग, युवा हुने मार्ग
बाइक, गाडी वा पदयात्रा जुनै होस्, यात्राको मार्ग युवा हुने मार्ग हो । यात्राको मार्गमा सिकाइका अवसर यात्रीलाई कुरिरहेका हुन्छन् । जैविक उमेर मान्छेको नियन्त्रणमा छैन । जैविक उमेर मापन गर्ने क्यालेन्डर सबैको एकनासले नै पल्टिन्छ । तर, मानस र चेतनाले युवा हुने कुरो मान्छेको छनोटमा भर पर्छ । जैविक उमेर डाँडा काट्दै गर्दा पनि मानिस मानस र दृष्टिकोणले युवा भइरहन सम्भव छ ।
पुस्तक पढ्ने, ध्यान गर्ने, स्वास्थ्यकर भोजन लिने, व्यायाम गर्ने, कृषि कर्ममा लाग्ने, यात्रामा निस्कने, सामुदायिक कार्यमा सहभागिता जनाउने कर्महरू असल हुन् । यीमध्ये यात्रा एक असल माध्यम हो । घरबाट ननिस्किए यात्रा हुँदैन । परिचित स्थान नछाडे यात्रा भनिँदैन । घरबाट निस्कनु भनेकै आरामदायी क्षेत्र (कम्फर्ट जोन) बाट बाहिर निस्कनु हो ।
यात्रा स्वभावगत चुनौतीपूर्ण हुन्छ । यात्रामा रोजाइकै खान पाइन्छ भन्ने ग्यारेन्टी छैन । आफ्नो मनपर्ने परिचित बिछ्यौना हुँदैन । परिवेश बिरानो हुन्छ । रात–बिरात हिँड्नुपर्छ । भोक र निद्राले सताउन सक्छ । भनेको बेला शौचालय नभेटिन सक्छ । समयमै गन्तव्यमा पुगिन्छ भन्ने छैन । थरीथरीका मान्छेको भर पर्नुपर्छ । कहीँ लवज मिल्दैन, कहीँ भाषा बुझिँदैन । अप्ठ्याराहरू आइलाग्छन्, कसलाई भन्ने ? कहाँ जाने ? ठगहरूको फेला परिन्छ । अलपत्र पर्ने सम्भावना हुन्छ । कहीँ भने सहृदयी र सहयोगी हातहरू अचम्भ लाग्ने गरी भेटिन्छन् । पूर्वनिर्धारित बनिबनाउ धारणा यात्रामा भत्किन्छन् । यात्रा जति चुनौतीपर्ण छ, उत्तिकै अवसरले भरिपूर्ण छ । यात्रा अचम्मको पोको हो । त्यस पोकाबाट प्रत्येक यात्रामा केही न केही छक्क पार्ने घटनाहरू निस्कन्छ ।
यात्राको सायद सबैभन्दा ठूलो योगदान यसले यात्रीको दृष्टिकोणलाई उदार र सहिष्णु बनाउँछ । अहम्वादीका निम्ति यात्रा आफूलाई सच्याउने दुर्लभ अवसर हो । मेरै कुरा सत्य, मैले भनेकै सही भन्नेहरूका निम्ति यात्रा रियालिटी चेक हो । त्यस्ताखाले अहम्हरू यात्राको कठोर परीक्षामा चकनाचुर हुन्छन् । कतिपय मनोगत धारणा असल र कमसल हुँदैन, मात्र भिन्न हुन्छ भन्ने चेत पलाउँछ । गहिरिएर पर्गेल्ने हो भने यात्राबाट कहिल्यै उही मान्छे फर्कंदैन । यात्रामा मान्छेले आंशिक रूपमै किन नहोस्, पुरानो मान्छेलाई बिदा गरेर फर्कन्छ । म आफैंलाई सम्झाइरहन्छु– यात्रा गर्न नछोड, नत्र तिमी पनि जम्दै सकिन्छौ । गन्जलापासको रोमाञ्चकारी यात्रापछि यस्तै आशयको कविता लेखेको थिएँ । भारी हिमपातले दुई दिन गेल्दाङफुमा फसेपछि, गहिरो अत्यासमा डुबेको थिएँ ।

यात्राको सार
यात्राको सबैभन्दा महत्त्वपूर्ण अवयव के हो ? यात्रा, विश्राम, सहयात्री वा गन्तव्य ? मेरो विचारमा, यात्रा नै सबभन्दा महत्त्वपूर्ण हो । हिँडिरह्यो भने जस्तोसुकै गतिमा किन नहोस्, ढिलो–चाँडो गन्तव्य पुगिन्छ । कतै न कतै सहयात्री भेटिन्छन् । बस्, यात्रा रोक्नु हुँदैन । विश्राम पनि लिनुपर्छ यात्राको दौरान । तर, यात्राबाट विश्राम लिनु हुँदैन ।
हिँड्नुको सन्दर्भ आउँदा ‘फरेस्ट गम’ सिनेमाको सम्झना आउँछ । नायक टम हाङ्क्सलाई जीवनमा जोगिन अनेकन् पटक दगुर्नुपर्छ र त्यसैको बानी लाग्छ । एक दिन अचानक केही याद आएजस्तो घरबाट निस्कन्छ ऊ, सडक किनारसम्म पुगुँ भन्दै । किनार पुगेपछि यतिसम्म त आइयो सहरकै किनारसम्म पुग्छु, ऊ सोच्छ । सहरको किनार पनि आएपछि, यहाँसम्म आइयो, अब अर्को राज्यसम्म किन नपुग्ने सोच्दै दगुर्छ । उसले फ्लास ब्लाकमा आफ्ना यात्राका कथा भन्छ । एवम्रीतले अनवरत ३ वर्ष २ महिना १४ दिन दौडेर संयुक्त राज्य अमेरिकालाई ऊ पाँच पटक फन्को लगाउँछ ।
उसको कपाल–दाह्री बढ्छ, मैलो देखिन्छ । तैपनि आमाको वचन सम्झेर कुदी नै रहन्छ । बहुलाजस्तो एकोहोरो दगुरिरहेको टम हाङ्क्सप्रति मिडिया आकर्षित हुन्छ । विभिन्न सञ्चारकर्मी अन्तर्वार्ता लिन आउँदा पनि ऊ नबिसाईकन दगुरेरै जवाफ दिन्छ । एक सञ्चारकर्मी सोध्छ– के तपाईंको यो हिँडाइ विश्व शान्तिका निम्ति हो ? अर्को सोध्छ– के जलवायु परिवर्तनको सन्देश दिने तपाईंको उद्देश्य हो ? दगुरिरहेको टम हाङ्क्सको सपाट जवाफ हुन्छ– दगुर्न मन लागेर (आई फेल्ट लाइक रनिङ) । ‘दगुर्न मन लागेर’, यो लाइन मैले गरेको अनुवाद हो । त्यस अनुभूतिजन्य जवाफमा निहित सांस्कृतिक अभिव्यञ्जनालाई म अनुवाद गर्न सक्दिनँ । त्यो नै मैले गर्न सक्ने नजिकको अनुवाद हो । भन्न सक्छु त केवल, जेजस्तो परिस्थितिमा पनि गतिशील रहनु नै यात्राको सार हो ।

कोसेली

कम्रेडको जितपछि

- रमेशचन्द्र घिमिरे


भोट गन्ती सकिएकै थिएन
गाउालेसागै रौसिएर त्यस दिन
रकेटझैं उड््यो नजरमान बम्जनको खुसी
र आकाशको चउरमा मडारियो
नमडारियोस् पनि किन Û
ऊ पनि लाल मतदाता थियो
खर्च भएथ्यो ऊ जस्ताको फगत एक भोट Û
सट्टामा
प्रिय कम्रेडलाई मेयर पाए
दिनैभरि खाए, पिए, खादा लाए
र ठाने
दुनियाालाई पाइतालामुनि अटाए ।

राति अबेर नजरमान घर पुग्यो
ऊ अलि मुडमा ओर्लियो
चरिमायातिर लच्किादै बतास लायो–
‘सुन् बूढी, आजबाट हामी नि सार्वभौम भयाौ Û’
सुनेर चरिमायाको चम्केको आाखाले खोज्यो
– ‘बूढा अरब जाने टिकट हो यो ?’
भेउ नपाएर उसलाई छि्याू लाग्यो
र भोली बुझ्ने तारिख लिादै भारी बिसायो
चरिमाया त्यस रात खुबै उदार भई ।

भोली दिनैभरी विजय जुलुस हिँड्यो
अबिरमा पुरिएको थियो नजरमान
बेलुका मुड मात्रै लिएर रित्तो फिर्‍यो
जवाफ नभेटेकी चरिमायाको मन यता चिसियो
र उसको त्यो रात अनुदार बस्यो ।

चरिमाया छेउ नपरेकी त्यो चिसो रात
तनावले नजरमानको निद्रा खलबलियो
डोकाले छोपेको कुखुरो हेर्दै सोच्यो
त्यो ‘सार्वभौम’
खेत थियो कि बारी ?
वृद्ध बाउको ओखती थियो कि छोराको स्कुले–फी ?
कस्सिएको बिर्को खुलेन
कम्रेडलाई त्यही सोध्न अर्को बिहानै बिम्झियो
कुल्ला नगर्दै नजरमानको नजरमा चढ््यो
परऽऽ कम्रेडको डिलमाथि अनौठो जन्तु
दौडेर ऊ निमेषमा त्यो छेउ पुग्यो
मौरीजस्तै गाउालेबाट जो घेरिएको थियो
कम्रेडकी दुलहीसाग एकथरी धूप–अछेता छर्दै थिए
त्यो रहेछ
– कम्रेडको नयाा डोजर
यसरी गाउालेका खातिर
डोजर गाउा छिर्‍यो
र बंगुरझौ जताततै खोदल्न थाल्यो ।

त्यस यता
डोजरलाई भ्याई–नभ्याई भो
रमिताका लागि धूले केटाकेटी धुइरिए
घरका कुनाकानीमा खोकिबस्ने बूढाबूढी ओइरिए
परदेसिएका लाहुरेका पियारीहरु सोहोरिए
यसबीच
गाउालेको बातचितमा धमिलो खहरे पनि मिसियो
घरी डोजर चालक र सातमा पढ्ने धनमायाको हल्ला
घरी धनमायाको समवयी पेमासाग सहचालकको सल्लाह
यसबीच
आगलागी भो, महामारी भो
जेजे भए नि गाउालाई एउटै सन्तोक भो
कम्रेडले बरालिएको विकास गाउामा हुल्यो ।

गएको असार
बाटो डोजरले खन्दै जाादा
आधा रातमा पहाड खस्यो
त्यो पहाडमुनि नजरमानको घर फस्यो
बाटोको मुआब्जा नपाएर ऊ सधैं पिरोलिन्थ्यो
ऊ सपरिवार नभेटिएको पनि
आज उन्नाइस दिन कट्यो
केवल
चरिमायाको एक्लो चप्पल भेटियो ।

कम्रेडको डोजर निस्फिक्री चलिरहृयो Û

कोसेली

अखबार

- राजेन्द्र शलभ

 

बिहानै आइपुग्छु
तिम्रो घरमा
चाहे तिमीले पसलबाट ल्याऊ
वा हकरले फालेर जाओस्
केही चाख मानेर
तर, धेरै दिक्क मानेर पढ्छौ
चियासागै मेरा पानाहरु पल्टाएर
तिमी आफूलाई अपडेट बनाउाछौ
केही समाचार त श्रीमतीलाई पनि सुनाउाछौ ।
...
पढिसकेर थन्क्याउाछौ एकातिर
अनि केही पोको पार्न
वा ऐना सफा गर्न निकाल्छौ
तैपनि उब्रिएा भने
कुनै कबाडीलाई बेचेर
केही रूपैयाा असुल्छौ मेरो नाममा ।
...
अचेल अनलाइन भन्ने
सौता भित्रिएकी छे मेरो संसारमा
मलाई हेप्न थालेका छन्, मान्छेहरु
नढााटी भन त–
के अझै पनि तिमीलाई मन लाग्दैन
मलाई स्पर्श गर्न
र, एकफेर मात्र होइन
घरीघरी प्रयोग गरिरहन ?

 

Page 12
कोसेली

१७ वर्षपछि उजेली

- किरण पाण्डे

 

१७वर्षअघि (२०६२) पहिलोपटक काठमाडौंबाट हुम्ला टेक्दा त्यो ठाउँबारे मेरो मस्तिष्कमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर अंकित थियो । उतिबेला सदरमुकाम सिमकोटमा पत्रकार भैरव रिसाललगायतले ‘उज्यालो अभियान’ चलाइरहेको सुनेको थिएँ । पुगेपछि थाहा भो– सोही अभियानअन्तर्गत सदरमुकाम आसपासका गाउँहरूमा ‘सोलार टुकी’ बल्न थालेको रहेछ ।
सदरमुकाम छेउकै तल्लो गाउँमा उजेली रावतलाई भेट्टाएँ । नामैले आकर्षित गरेको थियो मलाई । हुम्लाको उज्यालो तस्बिर खोजिरहेका बेला मसामु आइपुगिन्– ‘उजेली’ । त्यतिबेला पहिलोपटक उनको तस्बीर खिचेको थिएँ । त्यसपछि २०७१ र २०७९ मा उनको तस्बिर खिचेँ, जीवनमा आएको बदलावलाई क्यामेरामा कैद गरेँ । तर, अझै उनको नाम सुहाउँदो हुम्ला ‘उज्यालो’ भएको महसुस गरिनँ ।
पहिलोपटक तस्बिर खिच्दा उजेली १८ वर्षकी थिइन्– पिठ्युँमा बच्चा र हातमा किताब बोकिरहेकी ! ०७१ मा फेरि हुम्ला जाने अवसर मिल्यो । तर, त्यसबेला हुम्ला सम्झनेबित्तिकै मेरो दिमागमा गरिबी र अभावको चित्र बनेको थिएन, ‘उजेली’ को अनुहार थियो । ८ वर्षपछि भेट्दा तीन सन्तानकी आमा भइसकेकी रहिछन् उजेली । पहिले आफू पढ्थिन्, त्यसबेला छोराछोरी पढाइरहेकी थिइन्– सोलारको टुकीमा होइन बिजुलीको मधुरो प्रकाशमा । २५० किलोवाटको हेल्दुङ जलविद्युत् आयोजनाले सोलार टुकीबाट जनतालाई छुटकारा दिलाएको थियो ।
८ वर्षपछि यसपटक फेरि ०७९ साउन ३ मा हुम्ला पुगेँ । यसबेला साइकलयात्री मंगल लामा ‘ग्रेट हिमालयन ट्रेल’ को १७०० किमि दूरी पार गरेर ८८ औं दिनमा हिल्सा पुग्ने भएपछि उनको फोटो–स्टोरी गर्न हुम्ला पुगेको थिएँ । लामो साहसिक यात्रापछि हिल्सा आइपुगेका थिए मंगल । उनलाई भेट्ने उत्साह त थियो नै, सँगै उजेलीको यात्रालाई क्यामरामा कैद गर्न पाइने खुसी पनि थियो । देशको यति दुर्गम भेगमा बाँचिरहेको एउटा जीवनमा समयसँगै आएको परिवर्तन पटकपटक कैद गर्न पाउनु फोटोग्राफरका लागि दुर्लभ अवसर हो, यसले झनै उत्साही बनाएको थियो । उजेलीमार्फत मैले हुम्लाको परिवर्तन पनि महुसस गर्न पाएको थिएँ ।
पहिले पनि र अहिले पनि म हवाइजहाजबाटै हुम्ला पुगेँ । कणार्ली राजमार्गले अझै सिमकोट भेट्टाएको छैन । खच्चड र हवाइजहाजबाटै नुनदेखि सुनसम्म ओसार्नुपर्छ । त्यसरी ओसार्नुपरेपछि ती सामग्रीको मूल्य असाध्यै बढ्छ । पछिल्लोपटक म सिमकोट पुग्दा गोलभेंडा प्रतिकिलो ५५०, अण्डा एक क्यारेटको १०००, चिनी एक किलोको २५० देखि ३००, ब्रोइलर कुखुराको मासु प्रतिकिलो ८५० रुपैयाँ थियो । खाली ग्यास सिलिन्डर भर्नुपरे ६,५०० र पूरै ग्याससहित सिलिन्डर किन्नुपरे त ११ हजार रुपैयाँ पर्थ्यो । यस्तो महँगीमा उजेलीको परिवारले कसरी जीवन चलाइरहेको छ ? सम्झँदा पनि कहाली लाग्छ । काठमाडौंमा मैले यही मूल्यमा खाद्य सामग्री किन्नुपरेको भए, सायद मेरो दैनिकी कसरी चल्दो होला !
हुम्लामा चामल र नुनचाहिँ सरकारले अनुदान दिएरै भए पनि काठमाडौंकै दरमा पुर्‍याउँदो रहेछ । तर, त्यही चामल लिन पनि उति सहज छैन । पञ्चायतकालको सुरुवातमा जब प्रशासनिक कामका लागि काठमाडौंबाट मान्छेहरू कर्णाली पुग्न थाले, तब त्यहाँ चामल हुँदो रहेनछ भन्ने तथ्य शासकलाई थाहा हुन थाल्यो । अनि खाद्यान्न अभाव रोक्ने तत्कालीन उपायका रूपमा हवाइजहाजमार्फत चामल पुर्‍याउन थालियो । यो उपाय अझै निरन्तर छ । यसले स्थानीय उत्पादन र कृषि प्रणाली ओझेलमा पर्‍यो । तिते फापर, सिस्नु, चिनो, उवा, कोदो, रातो च्याउको उत्पादन कम हुँदै गयो । यसले खाद्य निर्भरता पनि बढाएको दखिन्छ । एक दशकअघिसम्म यस्तै अवस्थाबाट गुर्जिरहेको जुम्लाको कर्णाली राजमार्गमा मोटर चल्न थालेपछि खाद्य वस्तुको मूल्य त घटेको छ, तर स्थानीय कृषि प्रणाली जोगाउन सकिएको छैन । सरकारले ०७५ सम्ममा देशका ७७ जिल्ला सदरमुकाममै मोटरबाटो पुर्‍याउने घोषणा गरे पनि हुम्लाको सिमकोटमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन । तर, जिल्लालाई भने मोटरबाटोले छोएको छ ।
हुम्लाका मान्छेहरूको मुख्य आम्दानीको स्रोत हो– जडीबुटी, तर त्यसले बजार पाइरहेको छैन । ‘हुम्लामा स्याउ उत्पादन बढिरहेको छ तर, बजार नपाएर गाईबस्तुलाई खुवाउनुपरिरहेको छ’, स्थानीय जंग लामाले भने । जंगले यस्तो भनेको सुन्दा कसको मन कटक्क खाँदैन र ? हुम्लाको यस्तो
परिवेशमा उजेलीको जीवन यात्रा झन् कष्टकर छ ।
३५ वर्षमा ४ छोराछोरीकी आमा बनेकी उजेलीलाई पछिल्लोपटक भेट्दा सोधेँ, ‘यहाँ यति धेरै छोराछोरी हुर्काउन गाह्रो हुँदैन ?,’ उनले हाँस्दै जवाफ दिइन्, ‘एउटा, दुइटा पाएको भए पो सुखले बिग्रिन्थे त, ४ वटा भएपछि त दुःखै दुःख हुन्छ आफैँ हुर्किहाल्छन् नि !’
विगतमा उनीसँग सम्पर्क गर्ने कुनै माध्यम थिएन । अहिले प्रविधि उनीसम्मै पुगेको छ । यसपटक भेट्दा उनी मोबाइलमा ‘टिकटक’ चलाउँदै थिइन् । उजेलीले छोराछोरीको स्याहारसुसार र खेतीपातीमा ध्यान दिनुपर्ने भएपछि १० कक्षाभन्दा माथि पढ्न सकिनन् । तर, उनका छोराछोरी बिजुलीको उज्यालोमा पढ्छन् । घरमा टीभी पनि छ । आजकल ‘आनन्दी सिरियल’ हेर्छिन् । उजेलीकी जेठी छोरी अहिले १० कक्षा पढ्ने भएकी छन् । र, कान्छी छोरी २ कक्षा पढ्छिन् ।
छुट्टिने बेला उजेलीले भनिन्, ‘हामीलाई पैसा कमाउन गाह्रो छ । सामान असाध्यै महँगो छ । गाडी आइपुगे हाम्रो पनि सुखको दिन फिर्थ्यो कि !’
म पनि अर्कोपटक गाडीमै चढेर उनको घर
पुग्न चाहन्छु, फोटो खिच्न चाहन्छु । के मेरो रहर पूरा होला ?

कोसेली

९ लाख किराती हुनुका दुःख

- अर्जुनबाबु माबुहाङ

 

प्राचीन नेपालका किरात
२०६७/६८ तिर कवि मात्रै थिए– उपेन्द्र सुब्बा । उनी तिखेदेवल बस्थे । तिखेदेवल बोलाएर उनले मलाई
नाहाङ्मा (घरमूलीको शिर उठाउने पूजा) गर्न लगाए । मित्र दिलविक्रमजीले भाले च्यापेर बसिरहेका थिए । थान राखियो । पापो—आङ्देम्बेहरूको नाहाङ्मा मुन्धुम (सामाजिक इतिहास) फलाक्न थालियो । मैले ताप्लेजुङको सिङ्सादेन (जौको खेतीे), तोक्पेगोला (तिब्बत र नेपालको अन्न/भात बेच्ने बजार) हुँदै सोदुङ वरक ( तोक्पेगोलामा अवस्थित सृष्टि पोखरी) देखि मुन्धुम उठाएँ र पाँचथरको आङ्साराङसम्म पुर्‍याएर कविज्यूको शिर उठाएपछि रोकिएँ । कविज्यू सोचिरहेका थिए, ‘यसले कसरी मुन्धुमलाई काठमाडौं अथवा म बसेको ठाउँसम्म पुर्‍याउँछ, हेरूँ ।’ मुन्धुमलाई तमोर कटाउन सकिएन । त्यसपछि कविज्यूले ‘यसको मुन्धुम सकिएछ’ भनेर दिलविक्रमजीलाई भाले मार्न इसारा गर्नुभो । लिम्बूहरू किरातवंशी नभएको प्रमाण हेरौं । पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका अम्लाबुङका अम्बिकाप्रसाद आङ्देम्बेसँग भएको विसं १८८९ वैशाख १७ को चिर्कटोमा लेखिएको छ ः
राज वंसौली
षामपोंपाले कुमिङ फुइफुटुवा वये तांसां २ थाहांले कुमिं श्रीजांगा थेवे हां वये ।। ३ ।। मुनाफेन किरातीहांहारे षुंङ्छि मीं ।। १ ।। श्री यालम्वरले फांकिप तोंवे नेपालेयो हां चोगु ः श्री वु वर्मा कीरातीसोरले नु किप तांवेआं नुसि तांवे नेपालेयो हां चोगु ।।४।। धनुकहांले सुमसीआं नुसी तांवे हां चोगु ।...(तस्बिर १)
चिर्कटोको शीर्षकमा ‘राज वंशावली’ लेखिएको छ । त्यसपछि १ नं मा
खामबोङ्बाको नाम भुइँफुटुवा, जो आकाशबाट झरेका सिरिजङ्गा थेबे नामका राजा थिए लेखिएको छ । बाँकी संख्या थपेर मुनाफेन किराती वंशी राजाहरू यलम्वर, भूमि वर्मा पविहाङहरूले वर्षौं राज गरेको लेखिएको छ । टिपोटअनुसार, सिरिजङ्गा थेबे भुइँफुटुवावंशी हुन् भने मुनाफेन, यलम्वर, भूमि वर्मा, पविहाङहरू किरातवंशी हुन् । लिम्बूहरूसँग पनि नेपाल खाल्डो र किरातको कुनै सम्बन्ध नभएको यो कागजले झनै स्पष्ट पर्छ ।
प्राचीन नेपाल उपत्यकाका किरातकालीन ‘कुथेर, माप्चोक, लिङ्वल,
शुल्ली’ जस्ता प्रशासनिक शब्दले जग्गा, सिँचाइ, खानेपानीको कर उठाउने अधिकारिलाई जनाउँछ (धनवज्र वज्रचार्य, विसं २०३०/२०५३) । आज यी प्रशासनिक शब्दहरू राई, लिम्बूको बोलीचाली भाषामा पाइँदैनन् । राईहरूको न्याय, माटो र पानी हेर्ने प्रशासकलाई वालिखा, पासुङ, थाङपुङ हाङ्पा भनिन्थ्यो (ब्रायन हग्टन हज्सन, सन् १८८०/१९८२) । लिम्बूहरूको न्याय निसाफ तुत्तु तुम्याङ, पासिङ पादाङ (भद्रभलाद्मी)
ले चुम्लुङ (सभा) मा गएर साम्योक लुङयोकथिम (दुबोढुंगो छुवाएर) छिन्थे ।
यद्यपि लेखाइको ट्रेन्ड भने सुनीतिकुमार चटर्जी, इमानसिंह चेम्जोङदेखि जर्ज भान्ड्रिम हुँदै कमल मादेनसम्मले मध्यएसियाका किरातहरूसँग पूर्वका राई लिम्बू जोड्ने छँदै छ । आज मानवशास्त्र, इतिहासको खोजी भइरहँदा हाम्रो सामाजिक इतिहास मुन्धुम/मुन्दुम मान्ने कि नमान्ने ?

राईहरू खम्बू हुन् किरात होइनन्
...अटले नु बटले लेगुवानु कुङ्सा ।
पृथीनारान बाना उक्टा धर्ती थुङ्सा ।।
(अटले र बटले लेगुवाबाट आए ।
पृथ्वीनारायण आउँदा धर्ती काँप्यो ।)
....गोर्खा–खम्बुवान युद्घताका हतुवागढीका अटलसिं र बदलसिं खम्बू अरुण तरेर लेगुवाखोलाको बाटो हुंदै भागेपछि बनेको सवाई हो यो । भोजपुरको रानिवास, घोरेटार आसपासका वलिङहाङ राईहरूले आफूहरू खम्बू भएको र सुनुहाङ, कर्माहाङ, अटलसिं र बदलसिं जस्ता हतुवागढीका शासकहरू आफ्ना
पुर्खा भएको बताए । हज्सन पाण्डुलिपिको खण्ड ८६ मा संकलित जोभानसिं फागोले याक्थुङ्बा लिम्बू भाषाको सिरिजङ्गा लिपिमा लेखेका १३१ देखि १३२ सम्मका लेखोटमा गोर्खालीसँग लड्ने वलिङहाङ र उलिङहाङ खम्बूहरूको चर्चा यसरी गरेका छन् ः
लेखोट १३१ ..पेनेहाङ लन्देआङ योहाङलेन साप्तुङरो । नाः नाम्धानु फेरेरो । नेपाला नेवारहाङ मेक्सुरो । खम्फाङ ग तावाकोसी थाबेरो । खबु नाः ग वलिङहाङ उलिङहाङ युङेरो । गरखानु मेथक्तेरो । तावाकोसी कप मेफत्तुरो । नुःतङ थक्तेसिरो । गरखाले यरिक याप्मि सेरुपिरुसिरो । अरुनाङ हेत्ना ग पुलुङहाङ, इयकहाङ, याक्थुङबा हेप्मा....
जयकर्ण चतुरभद्र मेयुङे हेप्मो वलिङहाङ कुहार नाक्तेसाङ कुहार मेम्फारुन नुतङ केरेल्ले ग खबुहाङ मेक्सुरो । गरले रो । नुतङ मेथक्तेले इरालेसा चुक्पा हेन्जा हा सम्बाङ हेप्मो मेहागु मेसेरुसिरो । खुन्छि साः केयाक्माहा मेसुन्दुसिरो । सिगिनाः येम्विच्छासाःइन काक मेलतु मेसेरुसिरो । गरखाले अम्फा चोगुरो । खम्फेले वाला वलिङहाङ खबुइन...(तस्विर २) ।
(भावानुवाद ः क्षेत्री राजाको उदय भएदेखि यता लेखे है । पर पश्चिमबाट आयो है । नेपालको नेवार राजालाई जित्यो है । खम्बूको तिर वलिङहाङ उलिङहाङ थिए है । गोर्खालीसँग लडाइँ भयो है । ताँबाकोशी घेरा हाल्दै आक्रमण गरे है । सातवर्ष लडाइं भयो है । गोर्खाले धेरै मान्छेहरू मार्‍यो है । अरुणनदीदेखि यता त पुलुङ इयकहाङ याक्थुङबा तिर... जयकर्ण चतुरभद्रसँग वलिङहाङ गुहार माग्न आएपनि पाएनन । लडाईं भएको सात वर्ष पुग्दा खम्बूराजालाई जित्यो है । गोरखाले है । मसिना बच्चाहरूलाई ओखलमा किच्याएर मार्‍यो है । गर्भवती महिलाका पेटबाट छोरा हो भन्दै डल्लै निकालेर मारिदिए है । गोर्खाले यस्तै गर्‍यो है । अनि वलिङहाङ खम्बु त ...........)
लेखोटअनुसार, गोर्खालीहरूले तामाकोसीबाट वलिङहाङ र उलिङहाङ खम्बूलाई लखेट्दै लगे । उनीहरूले खम्बू गर्भवती महिला र बालबच्चाहरूको ज्यादतीपूर्ण ढंगले हत्या गरे । वलिङहाङले अरुण तरेर पुलुङ, इयकहाङ, जयकर्ण, चतुभद्रसँग गुहार मागे । सहयोग नपाएपछि उनी शुकनाक्रामा लुकेर बसे । त्यसपछिको अर्को लेखोट (१३२) मा अगमसिं खम्बू चौतारियाको नाम भेटिन्छ । अगमसिं चौदण्डीका अन्तिम राजा कर्ण सेनको चौतारिया थिए । चौदण्डीगढी गोर्खालीले खोसेपछि उनी राजा कर्णसेनका परिवारका साथ आश्रय लिन विजयपुर पुगेका थिए । लेखोट भन्छ– हिजो गोर्खालीसँग लड्ने आजका राईहरूका पुर्खाहरू वलिङहाङ, उलिङहाङ, अगमसिं खम्बू थिए ।
गोर्खालीहरूले राईहरूलाई ‘खम्बू’ सम्बोधन गरेको कागज मुस्किलले मात्रै भेटिन्छ । लिम्बुवानको इलाम फाकफोकमा पुगेका जहरसिं खम्बूलाई दसखम्बूले गर्ने राईगिरी/पगरीको अधिकार गोर्खालीले थामिदिएको विसं १८९६ को कागज भेटिएको छ (भगीराज इङ्नाम, विसं २०७७) । सिक्किममा सन् १८९१ (विसं १९४८) मा जनगणना भयो । जातिहरूको कोल्युममा लाप्चा, भुटिया, लिम्बू, गुरुङ, मुर्मी, राई/जिमदार, खम्बू, कामी, ब्राह्मण, मगर, क्षत्री, नेवारको संख्या भेटिन्छ । खम्बू पुरुषको जनसंख्या ७२६, महिलाको जनसंख्या ६४८ र बालबालिकाको जनसंख्या ५८९ छ । राई/जिमदारको पुरुषको ७४२, महिलाको ६९१ र बालबालिकाको ५९१ छ (एचएच रिस्ले, सन् १८९४/१९७२) । किरातको उल्लेख छैन ।

९ लाख किरातको कथा
हज्सनले संकलन गरेका लेखोटहरूमा लुङ्गुन (लुगुन ?) १. वालिं (वालिङ ?) २. योंछेर ३. चामलिं (चामलिङ ?) ४. थोलुं (थुलुङ ?), ५. संम्गपां (साम्पाङ ?) ६. दिलपा (दिल्पा ?) ७. वषिं (बोखिम ?) ८. आंटेन ९. गरि जम्मा नौ किरातहरूको उल्लेख छ (हज्सन पाण्डुलिपि खण्ड ७३, विसं १९०३) । उल्लिखित नौ किरात भनेर भोजपुर र खोटाङका राईका थातथलो र थरका नामहरू पुष्टि हुन्छन् । पृथ्वीनारायण शाहले अभिमानसिंह, पारथ भण्डारी र खार्पाका हरिनन्द पोख्रेललाई विसं १८३० मा लेखेको पत्रमा ‘नौलाख किरातका मुलुक मदेश पाहाड’ वाक्यांशहरू परेका छन् (बाबुराम आचार्य, विसं २०२२) । हज्सनले घरधुरीको दुई आनाका दरले तिरो उठेको आधारमा ‘नौलाख किरात’ भएको तर्क पनि राखेका छन् (ब्रायन हग्टन हज्सन, सन् १८८०/१९९२) । वास्तवमा यिनै नौ किरातहरूको सेन शासकहरूसँगको उठबस र पराक्रमलाई लिएर ‘नौ किरात’ लाई नै ‘नौलाख किरात’ भनिएको हुनुपर्छ । वास्तवमा खम्बूहरूको पराक्रमले सेनहरूको चौदण्डी राज्य थामिएको थियो । त्यसो त मकवानपुरका राजा दिग्बन्धन सेन र उनका ज्वाइँ पृथ्वीनारायण शाह ज्वाइँ–जेठानबीच नौलाखे हार र एकदन्ते हात्तीको विषयमा मनमुटाव भएको थियो । ‘नौलाख’ शब्द लोकप्रिय हुनुको कारण यो पनि हुन सक्छ (तस्बिर ३) ।

राई, लिम्बूमा ॅकिरात’ शब्द
गोर्खालीहरूले खम्बूहरूलाई ‘खम्बू’ भनी चिन्न चाहेनन् । ‘खम्बू’ सम्बोधन गर्दा आफूसँग लडाइँ गर्ने खम्बू नायकहरू र उनीहरूमाथि गरिएको ज्यादतीविरुद्घ कुनै पनि बेला विद्रोह हुन सक्ने डर थियो । त्यसैले गोर्खालीले खम्बूहरूलाई मासिन्या/मासिने ‘किरात’ भने ।
अदौमा याक्थुङ्बाहरूको साना–साना लुङबुङ (राज्य) हरू थिए । सेनहरूले
याक्थुङ्बाहरूलाई चिन्न ‘लुङबुङ’ भन्न जानेनन् र ‘लिम्बू’ भने । लिम्बूहरूको माटोलाई गोर्खालीले ‘लिम्बुवान’ भने । मुगल ठाउँका नामहरूको अन्त्यमा ‘आन’ प्रत्यय लागेर पाकिस्तान, खालिस्तान, उब्जेकिस्तान भएजसरी ‘लिम्बू’ शब्दमा ‘आन’ जोडियो कि !
किनभने गोर्खालीहरूले ‘मुलुकी ऐन, सुब्बा, हवल्दार, जमदार’ जस्ता मुगलकालीन ९० प्रतिशतभन्दा बढी प्रशासनिक शब्द प्रचलनमा ल्याएको देखिन्छ । ठाउँ र कानुन जोडिँदा ‘लिम्बुवान’ शब्दको व्युत्पत्ति हुन पुग्यो कि !
जस्तो ः ‘मुग्लान’ शब्द नै मुगलकालमा नोकरी गर्ने नेपालीहरूले बोलेका थिए । ‘लिम्बू र लिम्बुवान’ शब्द याक्थुङ्बाहरूको राज्यसँग जोडिन पुगे पनि राणाकालदेखि यता प्रशासनिक क्षेत्रको विस्तार गर्दा अरुणपारिका भूभागलाई ‘पल्लोकिरात लिम्बुवान’ भनियो ।
गोर्खालीले राई, लिम्बूहरूलाई ‘किरात’ मात्रै भनेनन्, राईगिरी र सुबाङ्गीजस्ता राजस्व उठाउने स्थानीय अधिकारी पनि बनाए । गोर्खालीको बोली नै कानुन भएकाले उनीहरूले बोलेको ‘किरात’ शब्द मर्यादित मात्रै बनेन, लोकप्रिय पनि बन्यो । राई, लिम्बू, जोकोही किरात बन्ने नै भए । हिन्दु ग्रन्थहरूमा पढिने किरात र हिन्दु देउ–देउतासँगको सम्बन्धलाई पनि गोर्खालीसँग नजिक पुगेका राई, लिम्बूले आफ्नो वंश र मुन्धुम/मुन्दुम संस्कारसँग जोड्न थाले । अनि त राई, लिम्बूहरूले आफूहरू पनि हिन्दु वैभवशाली शासकजस्तै भएको भनी गर्व गर्न थाले । ‘किरात’ शब्दले यसकारण खम्बू/राई र याक्थुङ्बा/लिम्बूहरूको आस्था, संस्कार, इतिहास र राजनीतिमा प्रवेश पायो ।
किरात यायोख्खामा संगठित राईहरू गोर्खा–खम्बूहरूको कारुणिक इतिहासबारे बोल्न चाहँदैनन्, इतिहास बिर्सन राजी छन् । धेरै भाषी भएकाले किराती भनेपछि एकजुट हुन सजिलो हुन्छ भन्ने बुझाइमा छन्
राईहरू । किरातीका नाममा सुनुवार, याख्खा, मेवाहाङ, याम्फू, लोहोरूङ, आठपहरिया र लिम्बूहरूलाई पनि भाषिक, जातीय र राजनीतिक रूपमा पनि प्रभाव पार्न सकिन्छ भन्ने पनि छ । हालसालै मात्र उनीहरूले लिम्बूहरूको सिरिजङ्गा लिपिलाई किरात भन्नुले पुष्टि हुन्छ । लिम्बुवानको इतिहास नामेट पार्दै किरात कोसी/सगरमाथा प्रदेश नं १ को नामाङ्कन गर्न उनीहरू एकसूत्रीय ढंगले लागिपरेका छन् ।

मेटिँदै छ पहिचान
राईहरूले आफ्ना पुर्खा र पहिचानमा खम्बू लेख्ने, छोड्ने अनि फेरि लेख्ने गरिरहेका छन् । माओवादी नेता गोपाल किराती पहिले बान्तवा राईहरूको पाछा बटुल्थे र ‘खम्बू’ लेख्थे । मुन्दुम संकलक भोगीराज चाम्लिङ लेख्छन्– ‘खम्बू र मेवाहाङका हालका सन्तान राई हुन् ।’ जबसम्म राईहरूले आफूलाई ‘खम्बू’ भनेर आफ्नो इतिहास खोतल्दैनन् तबसम्म उनीहरूको संस्कार र इतिहासमा विचलन आइरहन्छ ।
लिम्बूजातिमा भने किरातधर्मी हौं भन्ने सत्तेहाङ्मा पन्थीहरूले समाज सुधारक माहागुरु फाल्गुनन्दलाई देवत्वकरण गर्दै मुन्धुमी स्थलहरूमा डमरु, त्रिशूल राख्ने र होम यज्ञादि गर्ने अथवा लिम्बूहरूलाई हिन्दुकृत गराउने अभियान चलाएका छन् । कारण लिम्बूहरूले आफ्ना पुस्ता, थातथला, खोलानाला, पोखरी, वनस्पति, पशुपन्छीका नामदेखि परम्परागत ज्ञान बिर्संदै गएका छन् । वास्तवमा पूर्वका राई, लिम्बूका लागि किरात सभ्यता नभई सभ्यता नष्ट पार्ने भ्रमचाहिँ हो ।