You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
मुख्य पृष्ठ

कान्तिपुर कन्क्लेभ आजदेखि

काठमाडौं (कास)– कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । कार्यक्रममा आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।
‘बियोन्ड एक्सपेक्टेसन्स ः बियोन्ड बाउन्ड्रिज’ अवधारणामा दुई दिन सञ्चालन हुने कन्क्लेभमा नेपाल, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र युरोपका ५३ जना प्रबुद्ध व्यक्तिहरू वक्ताका रूपमा सहभागी छन् । यो मञ्चमा राजनीति, भूराजनीति तथा अर्थ कूटनीति, अन्तरदेशीय ऊर्जा प्रसारण तथा व्यापार, जलवायु परिवर्तन, अर्थतन्त्रको उपचार, गीत–संगीतसहित १२ सत्रमा संवाद हुँदै छ ।
कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल मुख्य वक्ता छन् । उद्घाटन समारोहपछि ‘जलवायु परिवर्तन’, ‘डिजिटल रूपान्तरण’, ‘अन्तर्देशीय ऊर्जा प्रसारण तथा व्यापार’, ‘नेपाल र विश्व’ तथा ‘विश्व समुदायमा नेपालको सफ्ट पावर’ विषयमा बहस हुनेछ । विदेशी वक्ताहरू पनि सहभागी हुने भएकाले पहिलो दिनका सबै सत्र अंग्रेजी भाषामा सञ्चालन गरिनेछ ।
आइतबार दोस्रो दिनका सबैजसो सत्र नेपाली भाषामा हुनेछन् । ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षकको आरम्भ सत्रमा विकास अर्थशास्त्री महेन्द्र पी लामा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बहस गर्नेछन् । त्यसपछि ‘सार्वजनिक संवादको शैली’, ‘आयात निषेध कि निर्यात वृद्धि ?’, ‘संगीतको सिमाना’ र ‘नेतृत्वमा महिला, अब पहिला’ शीर्षकमा पालैपालो बहस हुनेछ । ‘नीति, थिति र राजनीति’ शीर्षकको अन्तिम तथा समापन सत्रमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनेछन् । ‘यी सबै सत्रमा समस्याका पृष्ठभूमि मात्र होइन, समाधानका मार्गचित्रबारे पनि छलफल हुनेछ,’ केएमजीले भनेको छ ।
सन् २०१९ मा सुरु भएको यो ‘इभेन्ट’ को दोस्रो संस्करण २०२० मा भएको थियो । महामारीले स्थगन भएको तेस्रो संस्करण बृहत् र थप प्रभावकारी हुने केएमजीले जनाएको छ । ‘नेपाल र नेपालीलाई विश्व समुदायसँग जोड्ने उद्देश्यले कान्तिपुर कन्क्लेभ सुरु गरिएको हो,’ केएमजी व्यवस्थापनले भनेको छ । कार्यक्रम केएमजीअन्तर्गतका सञ्चारमाध्यमहरू कान्तिपुर दैनिक, काठमान्डु पोस्ट, नारी, ई–कान्तिपुर, कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट प्रकाशन तथा प्रसारण हुनेछ ।

मुख्य पृष्ठ

राज्यले नदेखेको एउटा गाउँ

नेपाल–चीन सिमानामा रहेको यस्तो बस्ती, जहाँका स्थानीय फोन गर्न जानुअघि घरमा धूप हालेर शुभ साइत पार्छन्
- आनन्द गौतम
५२ जना र १० परिवार रहेको ताप्लेजुङको फक्ताङलुङ–७ याङ्मा गाउँ । फाइल तस्बिर : कान्तिपुर

(ताप्लेजुङ)
चीनको तिब्बतस्थित रिउबाट विवाह गरेर आएकी फक्ताङलुङ गाउँपालिका–७ याङ्माकी फुटिक शेर्पा भोटेलाई आमाको झझल्कोले उल्कै सतायो । खैखबर बुझ्न तिब्बततिर फोन गर्न पनि सकिनन् । किनकि याङ्मामा फोन टिप्दैन ।
एक दिन फुटिकले टेलिफोन गर्न तीन घण्टा दूरीमा पर्ने लेजुङ डाँडा गएका छिमेकीलाई माइतीतिरको हालखबर पनि बुझिदिन आग्रह गरिन् । जब छिमेकीले फुटिकका काठमाडौंमा रहेका आफन्तसँग कुरा गरे, अशुभ तर अपुष्ट खबर सुनाए । फुटिककी आमाको निधन भएको हो/होइन भनेर पुष्टि गर्न तिब्बतमै फोन गर्न जरुरी थियो । जुन फुटिकको गाउँबाट सम्भव थिएन । तिब्बतमा रहेका माइतीले काठमाडौंमा रहेका आफन्तसँग विच्याटमार्फत कुराकानी गर्छन् । माइतीको खबर थाहा पाउन फुटिकले काठमाडौंमा नै सम्पर्क गर्नुपर्छ ।
कोरोना महामारी सुरु भएको तीन वर्षयता नेपाल–चीन जोड्ने टिप्ताला भन्ज्याङ नाका बन्द छ । नाका खुल्थ्यो भने फुटिक बिरामी आमालाई भेट्न जान्थिन् । फोन सम्पर्कसमेत नहुँदा आमाको खबर पुष्टि गर्न १४ दिन लाग्यो । ‘आमा बिरामी भएको खबर मात्रै थाहा पाएको भए पनि स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गर्थें भन्ने थकथकी लाग्छ,’ उनले भनिन् । मृत्युको खबर समयमै नपाउँदा परम्पराअनुसार चिर शान्तिका लागि दीप प्रज्वलन गरी प्रार्थना गर्न पाइनन् । शेर्पा, भोटे समुदायमा परलोक भएको दिनदेखि हरेक छोराछोरीले ४९ दिनसम्म २४ सै घण्टा ननिभ्ने गरी बत्ती बालेर प्रार्थना गर्ने प्रचलन छ ।
सञ्चार सम्पर्कबाहिर रहेकैले याङ्मा गाउँवासीले हरेकजसो समस्यामा अरूको साथसहयोग पाउँदैनन् । गत वर्ष पनि भदौमा लेकको चौंरी गोठमा गएका बेला निमाफुटीको खुट्टामा गहिरो चोट लाग्यो । गाउँमा न स्वास्थ्यचौकी न उपचार । हेलिकोप्टरमा काठमाडौं लगेर भए पनि उपचार गर्ने योजना बन्यो । स्थानीयले फोनको टावर टिप्ने नजिकैको लेजुङ डाँडामा गएर दुई दिनसम्म काठमाडौंमा फोन सम्पर्क गर्ने प्रयास गरे । सम्भव नभएपछि निमाफुटीका बुबा तेन्जिङ एक दिनको बाटो हिँडेर ओलाङचुङगोला पुगे । काठमाडौंमा फोन गरेर गाउँमा हेलिकोप्टर झिकाए । समयमै अस्पताल पुर्‍याउन नसकेकैले निमाफुटीले खुट्टा गुमाउनुपर्‍यो । अहिले पनि उनलाई लाग्छ, ‘गाउँमा फोन मात्रै टिप्ने भइदिए समयमै उपचार पाउँथें । जीवनभरलाई अपांग बन्नुपर्ने थिएन ।’
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिनको पैदलमा रहेको याङ्मा नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङबाट नजिकैको बस्ती हो । ५२ जनाको जनसंख्या र जम्मा १० घरपरिवारको बसोबास रहेको बस्तीमा गत स्थानीय तहको चुनावमा १४ भोट खसेको थियो । पहिले यहाँ १७ घर थिए, सुविधाकै अभावमा ७ परिवारले बस्ती छाडिसकेका छन् । गोरेटो बाटो मात्रै रहेको यो बस्ती ओलाङचुङगोलाबाट एक दिनको पैदल दूरीमा छ । बस्तीलाई गन्तव्य बनाएर हिँड्ने जो कोहीले पनि खानेकुरा झोलामा बोकेर जानुपर्छ । किनकि बाटोमा कुनै बस्ती र पसल छैनन् । यो बस्तीबाट नेपाल–चीन सिमाना पुग्न झन्डै एक दिन यात्रा गर्नुपर्छ । सिमाना नजिकैको तिब्बती बस्ती रिउ भने दिनभरको यात्रामा पुगिन्छ ।
४२ सय मिटर उचाइको याङ्मा पुरानो बस्ती हो । स्थानीय बुढापाका यो बस्तीको इतिहास सय वर्षभन्दा लामो रहेको बताउँछन् । तर यहाँ सञ्चार, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवा पुगेको छैन । फक्ताङलुङ–७ का अध्यक्ष छेतेश शेर्पा लामा बस्तीको अवस्था देख्दा आफूलाई जनप्रतिनिधि भएको भन्न पनि लाज लाग्ने बताउँछन् । ओलाङचुङगोलावासी उनले आधारभूत पूर्वाधारकै अभावमा स्थानीयले दुःख भोगिरहेको सुनाए ।
‘मेरो बस्तीमा पनि फोन थिएन, पोहोर बल्लबल्ल टावर जोडेपछि फोन लाग्ने भएको छ, अझै फोरजी त जोडेकै छैन,’ उनले भने, ‘याङ्मालाई टेलिफोन दिनुस् न भनेर कति धायौं कति, खै दिँदैनन् ।’ नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमबाट टेलिफोन सुविधा दिए दुर्गमका नागरिकलाई राहत हुने उनको भनाइ छ ।
यहाँका बासिन्दा मौसम खुलेको मौकामा टेलिफोन गर्न लेजुङ डाँडा जान्छन् । कुहिरो हटेर दिन खुलेको बेला स्काईको सादा सेटबाट टेलिफोन सम्पर्क हुन्छ । ‘कहिले मज्जाले बुझिन्छ, कहिले मधुरो हुन्छ, कहिले त लाग्दै लाग्दैन,’ वडाध्यक्ष लामाले भने । लेजुङ डाँडामा पनि लेक लाग्ने जोखिम हुन्छ । मौसम खुल्दा पनि दुःख नपाइयोस् भनेर यहाँका बासिन्दा घरमा धूप हालेर शुभ साइत पारेर मात्रै फोन गर्न जाने गरेको लामाले बताए । हिउँले ढाकेको चार/पाँच महिना त लेजुङ डाँडाबाट पनि फोन सम्पर्क विच्छेद हुन्छ ।
एक कल फोन लाग्नु र नलाग्नुले पनि यहाँका बासिन्दाको सुख र दुःखमा फरक पार्छ । जस्तो कि, गत वर्ष फिन्जो शेर्पालाई बारी जोत्ने क्रममा याकले हान्यो । घाँटीमा गम्भीर चोट लागेपछि उनी हिँड्नै नसक्ने भए । बस्तीमा बुढापाका र महिला मात्रै थिए । आफन्तले लेजुङ डाँडामा गएर तत्कालीन वडाध्यक्ष छेतेन शेर्पा भोटेलाई फोन गरे । धन्न, फोन लाग्यो । उनीहरूले वडाध्यक्षलाई बस्तीमा स्वास्थ्यकर्मी पठाइदिन आग्रह गरे । वडाध्यक्षले ओलाङचुङगोलाबाट स्वास्थ्यकर्मी लिएर भोलिपल्टै बस्तीमा पुगे र उपचार गराए । स्थानीयहरू अहिले पनि फिन्जोको भाग्य बलियो भएकै कारण फोन लागेको र उपचार सम्भव भएको कुरा गरिराख्छन् ।
आफूहरू राज्यबाटै हेपिएकामा याङ्मावासीको ठूलो गुनासो छ । प्रत्येक आधारभूत सुविधाका लागि बारम्बार संघर्ष गर्नुपर्ने बाध्यतासँग उनीहरू अभ्यस्त छन् । यसै वर्षदेखि गाउँपालिकाले बल्ल बाल शिक्षक नियुक्त गरेर पढाइ सुरु गरेको छ । पहिला दुई जना शिक्षकको दरबन्दी भए पनि शिक्षक नबसी तलब बुझ्न थालेपछि पालिकाले यहाँका शिक्षकलाई अन्यत्र सरुवा गरेको थियो । सरकारले यहाँ स्वास्थ्य चौकी राख्ने निर्णय गरे पनि अहिलेसम्म स्वास्थ्यकर्मी पठाएको छैन ।
नेपाल टेलिकम प्रदेश १ प्रादेशिक निर्देशनालयका निर्देशक लक्ष्मण महर्जन यस्ता दुर्गम बस्तीका लागि स्याटेलाइट टेलिफोन सुविधा रहेकाले सो अनुसार सेवा प्रवाह गर्न सकिने बताउँछन् । ‘यस्तो समस्या रहेछ, यस विषयमा म आफैं अध्ययन गर्नेछु,’ उनले भने । टेलिकमको सामाजिक उत्तरदायित्वअन्तर्गत पाथीभरा क्षेत्रमा ३० वटा डस्बिन राखिदिएको सन्दर्भ उप्काउँदै वडाध्यक्ष लामा भन्छन्, ‘नागरिकले अझै पनि सञ्चारको पहुँच पाएका छैनन्, यस्ता कार्यक्रम बरु सञ्चार सेवा विस्तारमै लगाए धेरै राम्रो हुने ।’

मुख्य पृष्ठ

कीर्तिमानी आरोहण

- सुरज कुँवर

(काठमाडौं)
पूर्वी नेपालको संखुवासभास्थित मकालु हिमालको फेदीमा रहेको वालुङ गाउँ छाडेर काठमाडौं पस्ने निर्णय लिँदै गर्दा सानु शेर्पाका लागि आफ्नो नाममा विश्व कीर्तिमान कल्पनाबाहिरको कुरा थियो । उनीसँग त ४ सन्तान, बाआमा र जहानको जीउ ढाक्ने र पेट पाल्ने बन्दोबस्तीको सपना मात्र थियो ।
खाँदबारी, हिले हुँदै नाइट बस चढेर काठमाडौं भित्रँदै गर्दा भारी बोक्ने काम मात्रै पाए पनि हुन्थ्यो भन्ने मनोकामना थियो । १७ वर्षपछि २०७९ साउन ५ का दिन जब उनी पाकिस्तानको ८ हजार ३५ मिटर उचाइको ग्यासरब्रुम–दोस्रो (जी–टू) हिमालको शिखरमा पुगे, उनका नाममा ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको चुचुरोमा पुग्ने आरोहीको विश्व कीर्तिमान बन्यो । १३ वटा अग्ला हिमाल दोहोर्‍याएर आरोहण गरिसकेका सानु गत जेठ ३० मा जापानी नर्स नाओको वातानाबेको सहयोगी गाइडका रूपमा काठमाडौंबाट पाकिस्तान लम्किएका थिए । भारत हुँदै चीनसम्म फैलिएको पाकिस्तानको काराकोरम हिमशृखंलामा पर्ने जी–टू हिमालको तेस्रो शिविरदेखि चुचुरोमा पुग्ने बाटो बनाउँदै जापानी आरोहीलाई डोर्‍याएर अघि बढे । तेस्रो शिविरबाट हिँडेको झन्डै १३ घण्टापछि साउन ५ गते बिहान पाकिस्तानी समयअनुसार ८ बजे १२ मिनेटमा उनी विश्वको तेह्रौं अग्लो हिमालको चुचुरोमा पुगे । त्यहाँबाट फेदी ओर्लिन उनलाई थप
२ दिन लाग्यो ।
सानु आधार शिविरमा नपुग्दै विश्वभरका मूलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सानुको बहादुरीको समाचार डढेलोझैं फैलिसकेको थियो । संवाददाताहरूले लेखेका थिए, ‘विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमाल हिमचुचुरा दुईपटक चढेर नेपालका सानु शेर्पाले इतिहास रचे ।’
सानुले कीर्तिमानी आरोहण शृंखलाको पहिलो खुड्किलो भने १६ वर्षअघि पार गरेका थिए । उनी समुद्री सतहदेखि ८ हजार १ सय ८८ मिटर उचाइको चोयु हिमालको शिखरमा २०६३ वैशाखमा पुगेका थिए । कोरियाली आरोहण दलको सहयोगीका रूपमा सानुले विश्वकै छैटौं अग्लो हिमाल चोयुको टुप्पोमा पाइला राखेका थिए । अहिलेसम्म उनले एसियामा मात्रै रहेका विश्वकै ८ हजार मिटरभन्दा अग्ला (८०२७ मिटरको तिब्बतको सिसापाङ्गमादेखि ८८४८.८६ मिटरको सगरमाथासम्म) का हिमाल ४९ पटक आरोहण गरिसकेका छन्, जसमध्ये ३७ पटक उनी चुचुरोसम्मै पुग्न सफल भए भने १२ पटक बीचबाटै फर्के । ‘१२ पटक हिमाल बिरामी आरोहीको उद्धार गर्न वा अरु कामको सिलसिलामा चढेको थिएँ, त्यसैले चुचुरोसम्मै पुगिनँ,’ सानुले सुनाए ।
भरियाबाट हिमाल आरोहणमा डेब्यू गरेका शेर्पाले नेपालको उत्तरी सिमानामा पर्ने ७ (कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि, मनास्लु र अन्नपूर्ण), पाकिस्तानको सिमानामा पर्ने ५, (केटु, नंगा पर्वत, ग्यासरब्रुम पहिलो/दोस्रो र ब्रोडपिक) र तिब्बतमा पर्ने २ (सिसापांमा र चोयु) हिमाल दोहोर्‍याएर चढेका हुन् । यीमध्ये सगरमाथाको चुचुरोमा उनी ७ पटक पुगिसकेका छन् भने अन्नपूर्ण, धौलागिरि, ग्यासरब्रुम प्रथम, मनास्लु र नागा पर्वतमा तीन/तीनपटक आरोहण गरिसकेका छन् । उनले यी सबै हिमाल आरोहण विदेशी/स्वदेशी आरोहण दलको सहयोगी, सरदार, हाई–अल्टिच्युट गाइडका रूपमा गरेका हुन् । ‘म कुनै पनि आरोहण दलको सदस्यका भएर गएको होइन,’ काठमाडौंको बालुवाटारस्थित डेरामा उनले सुनाए, ‘सप्पै हिमाल म कामदार भएर चढेको हुँ । मैले पैसा तिरेर भरिया लगेर चढ्नुपर्ने भए आज यो रेकर्ड बन्ने थिएन ।’
१४ हिम चुचुरा दोहोर्‍याएर सफलतापूर्वक आरोहण गरिसकेको एक महिनापछि भदौ ४ मा पाकिस्तानको इस्लामाबादबाट दोहो हुँदै काठमाडौं ओलिएपछि सानु अध्यागमन डेस्कको नेपाली–सर्वसाधारणको लाइनमा राहदानीमा छाप लगाउन उभिएका थिए, कर्मचारीले त्यहाँ लाइन लाग्नु नपर्ने भन्दै भीआईपी कक्षतिर डोर्‍याए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसहित पर्वतारोहण क्षेत्रमा कार्यरत दर्जनौं संस्था पुगेका थिए । १६ वर्षको हिमाल आरोहणमा सानुले यस्तो आतिथ्यताको अनुभव गरेकै थिएनन् ।
विमानस्थलमा सानुलाई पर्वतारोहण क्षेत्रमा कार्यरत संस्थाका नेता/अगुवाले भीआईपीले प्रयोग गर्ने आगमन बिन्दु हुँदै बाहिर निकाले, जहाँ सयौं सर्वसाधारण झाँकी, बाजागाजा, खादा, माला र अबिरसहित उभिएका थिए । उनलाई नगर परिक्रमा गराएर पर्यटन बोर्डको सभाहलमा लगियो । ‘मैले त्यसै दिन पहिलोपटक भाषण गरें,’ गाउँकै स्कुलमा ३ पास गरेर ४ कक्षा टेकेको मात्रै अनुभव भएका शेर्पाले सुनाए, ‘त्यसपछि मलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटार लगियो ।’ त्यहाँ प्रधानमन्त्री देउवाले उनलाई बधाई दिए ।
सानुले मन्त्री र प्रधानमन्त्रीसँग यसरी भेट होला भन्ने कल्पना पनि गरेका थिएनन् । सानु भन्छन्, ‘प्रधानमन्त्रीले मलाई नेपाल र नेपालीको इज्जत राख्नुभयो भन्दै बधाई दिँदा इमानदारितापूर्वक मिहिनेत गरे मन्त्री–प्रधानमन्त्रीबाट सम्मान र इज्जत पाइँदो रहेछ भन्ने लाग्यो ।’ अहिले उनलाई सम्मान थाप्न, स्वदेशी/विदेशी सञ्चारमाध्यममा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ ।
शरीरमा तागत हुन्जेल आरोहणलाई निरन्तरता दिने सानुको मनस्थिति छ । उनी दसैं नलाग्दै मनास्लु जाने तरखरमा छन् । ‘मेरो एक जना विदेशी साथी मनास्लु, धौलागिरि र चोयु आरोहणका लागि आउँदै छ,’ शेर्पाले भने, ‘भदौ २८ तिर काठमाडौं छाड्छु होला ।’
४५ वर्षीया पत्नी किडिकी शेर्पाले भने सानुलाई हिमाल आरोहणलाई बिराम दिन भनिरहेकी छन् । ‘छोराछोरी र श्रीमतीले भो पुग्यो, गाउँ फर्किऔंँ भन्दै छन्,’ सानुले सुनाए, ‘मैले हिमाल नचढे तिमीहरूलाई कसले पैसा दिन्छ भन्छु । जानेको पेसा चटक्कै त्याग्नु कसरी !’ आरोहणलाई बिराम दिएपछिको बाँकी जीवन युरोप, अमेरिकालगायतका विकसित मुलुकमा सयर गर्ने रहर सानुले पालेका छन् ।
१७ वर्ष नपुग्दै बिहे गरेका सानुका अहिले चार छोरी र एक छोरा छन् । उनी ३० वर्षको उमेरमा भेडाबाख्रा र चौंरीगोठ त्यागेर भरियाका रूपमा हिमाल आरोहणतिर लागेका बेला उनका चार सन्तान थिए । सानुले सानो छँदा कहिलेकाहीँ मकालु हिमालमा जाने विदेशी आरोहण दलको भारी बोक्ने गर्थे । उनी काठमाडौं आएपछि एक वर्ष मात्रै भरिया भए । त्यसपछि अनुभवले उनलाई भारीबाट छुटाउँदै गाइडतिर डोर्‍यायो । सुरुवाती दिनमा ठमेलको ट्रेकिङ क्याम्प नेपाल कम्पनीमा भरिया, किचनब्वाई हुँदै गाइडसम्मको नौ वर्ष अनुभव बटुलेको सानुले सुनाए । यतिबेला उनी पायोनियर एड्भेन्चर प्रालिमा एक्सपिडिसन लिडरका रूपमा कार्यरत छन् । अहिले उनलाई विदेशीले ‘तिम्रो चार्ज कति हो भन, हामीसँग काम गर्नुपर्छ’ भनेर अफर गरिरहेका छन् । उनले विदेशी वा स्वदेशीलाई ‘यति–उति’ भनेर पारिश्रमिक तोकेरै माग्ने गरेका छैनन् । उनले लिने पारिश्रमिक ‘नेगोसिएसन’ मा भर पर्छ ।
‘सुरुवाती दिनमा मैले ६–७ हजार उचाइमा ५२–५५ केजी भारी बोकेँ । एक सिजनमा २०–२२ हजार कमाउथें । अरु भरियाको दाँजोमा छिटो हिँड्थें, चाँडो पुग्थें । मिहिनेत गर्दै जाँदा आज म आरोहण क्षेत्रमा धेरै अनुभवका साथ माथि आइपुगेको छु । मसँगै भारी बोकेका धेरै साथी अझै धेरै तल छु,’ सानु भन्छन्, ‘मिहिनेत गर्दा हुने रहेछ । भगवान्ले पनि मलाई हेरेको छ जस्तो लाग्छ ।’
सानु पछिल्ला वर्ष आरोहण दलको नेताका साथै आरोहीका लागि डोरी बाँधेर बाटो बनाउने काम पनि गर्दै आएका छन् । हिमालमा आरोहणका लागि डोरी बाँध्ने कामलाई ‘रोप–फिक्सिङ’ भनिन्छ । उनको बुझाइमा बाटो बनाउने काम ज्यादै जोखिमयुक्त र झन्झटिलो छ । ‘कुनै पनि आरोहणको सिजनमा बाटो बनाउन जानु भनेको अन्दाजको काम हो,’ उनले भने, ‘कतिपय ठाउँमा पुरानो ट्र्याक नै देखिँदैन । कतै पुरानो मक्किएको डोरी हुन्छ । त्यसको भर हुँदैन । कतै आड नलिई धारमा हिँड्दा ८०/९० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हुरीले उडाउने डर पनि हुन्छ ।’
सगरमाथामा दोस्रो आधार शिविरसम्म ‘आइसफल डक्टर’ ले बाटो बनाउँछन् । दोस्रो शिविरसम्म भर्‍याङ हाल्ने, बाटो बनाउने काम अनुभवी शेर्पा (आइसफल डक्टर) को हुन्छ । त्यसभन्दा माथि भर्‍याङ जोड्नु पर्दैन । तर, डोरीलाई बलियोसँग बाँध्दै लैजानुपर्छ । यस काममा सानु अनुभवी छन्, त्यो पनि १४ वटै हिमालको अनुभव छ । ‘रोप–फिक्सिङभन्दा विदेशीलाई डोर्‍याउँदै लैजाने काम चैं मलाई सजिलो लाग्छ,’ सानु भन्छन् ।
२०७१ वैशाखमा १६ शेर्पाको ज्यान जाने गरी खुम्बुक्षेत्रमा हिमपहिरो जाँदा उनी कञ्चनजंघा आरोहणमा रहेका विदेशीका लागि आधार शिविरमाथि टेन्ट गाड्ने, बन्दोबस्तीका सामान ओसार्ने काम गर्दै थिए । २०७२ को भूकम्पमा अन्नपूर्ण आधार शिविरको टेन्टमा सुस्ताइरहेका थिए । ‘मेरो आरोहण यात्रामा १२ वर्षअघि मनास्लुमा २ जना कोरियाली आरोहीको ज्यान गयो,’ उनले सुनाए, ‘हामी नौ जना थियौं । एकाएक खराब मौसम भएपछि दुई जना हराए । अरु ७ जना दुई दिन–दुई रात एकै ठाउँमा भोक्कै टाँसिएर जोगियौं । योबाहेक म सहभागी भएको आरोहण दलमा अप्रिय घटना भएको छैन ।’ उनका अनुसार त्यसताका ७ हजार उचाइमा दुई दिन–दुई रात बिताउँदा उनीबाहेक अन्य ६ जनाले औंला, नाक, कान गुमाउनुपरेको थियो ।
सानुको अधिकांश हिमाल आरोहणमा अतिरिक्त बोतल अक्सिजन लैजाने बानी छैन । ‘अहिलेसम्म १८ वटा हिमाल आरोहणमा बोतलको अक्सिजन लिएँ, बाँकी मनास्लु, धौलागिरि, अन्नपूर्ण, चोयु, ल्होत्से, सिसापाङमा, नागापर्वत, गोरापिक, ग्यासरब्रुम प्रथम र दोस्रोमा अक्सिनबिनै चढेँ,’ सानुले भने ।
मकालु हिमालको टुप्पो देखिने वालुङ गाउँमा जन्मेहुर्केका सानु ४७ हिउँद–वसन्त पार गरिरहेका छन् । उनी भन्छन्, ‘अहिले धेरै हिमालमा हिउँ छैन । कतिपय ठाउँमा काँडावाला हिउँबुट काँधमा झुन्ड्याएर एक घण्टा हिँड्दा पनि हिउँ भेटिँदैन ।’ वर्षमा ८ महिना चिसो ठाउँमा हिउँमाथिी ओछ्यान लगाएर सुत्ने र बाँकी ४ महिना गर्मी ठाउँमा रहने सानु पछिल्ला दिन हिमाल आरोहणमा नयाँ पुस्ताको आकर्षण देखिरहेका छैनन् । हिमाल जोगाउने काममा सरकारको ध्यान नपुगेको गुनासो पनि उनले सुनाए । हिमालहरू अत्यन्तै फोहोर भइरहेको उल्लेख गर्दै उनले भने, ‘हिमाल सफा गर्ने काम सेनाले होइन, हामीले गर्ने हो । सरकारले करोडौं खर्च गरिरहेको छ । फोहोर थुप्रिएकै थुप्रिएै छ ।’

Page 4
समाचार

युरोप पुग्न 'मृत्युमार्ग'

संगठित मानव तस्करको जालमा परेर टर्की हुँदै ग्रिस पुग्न अवैध बाटो समाएका नेपाली हराउने र मृत्यु हुने क्रम बढ्दो
- जनकराज सापकोटा
ग्रिसबाट मेसिडोनिया छिर्दै आप्रवासीको समूह ।  तस्बिर : एपी 

(काठमाडौं)
‘आज राति म अनलाइनमा आउन्नँ, अब १० दिनपछि मात्रै कल गर्छु । त्यही भन्दे आमालाई, पीर गर्नु पर्दैन ।’
पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको कावासोती बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको फेदमै छ, सानो बस्ती छिपछिपे । यही बस्तीमा जस्तापाताले छाएको सानो घरमा बस्छन्, यमकला तिवारी र उनका जेठा छोरा दीपेन्द्र । यमकलाका कान्छा छोरा नवीन युरोपको सपना बोकेर करिब पाँच वर्षअघि टर्कीतर्फ लागेका थिए । २०७४ मंसिर १९ को राति करिब ९ बजे उनै नवीनले टर्कीबाट पठाएको सन्देश दीपेन्द्रले आमा यमकलालाई सुनाएका थिए ।
करिब ४ हजार ६ सय २० किलोमिटर परबाट ‘१० दिनपछि कल गर्छु’ भन्ने सन्देश पठाएका नवीनले त्यसपछि न फोन गरे न त कुनै सन्देश नै आयो । २४ वर्षीय नवीन कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट ग्रिस जाने सपना बोकेर २०७४ कात्तिक १५ मा घरबाट बिदाबारी भएका थिए । घरबाट हिँडेको २४ दिनपछि नवीनले आफू टर्कीको राजधानी इस्तानबुल पुगेको खबर दाइ दीपेन्द्रलाई पठाए ।
इस्तानबुल पुगेको पाँचौं दिनमा नवीन ग्रिस जान हिँड्नेहरूको समूहमै रहेकोसम्म टोलीका अन्य सदस्यबाट थाहा भएको छ । त्यसयता कान्छो छोरा आउने बाटो हेर्दाहेर्दै यमकलाका आँखा थाकिसकेका छन् । टर्कीबाट अवैध रूपमा ग्रिस छिर्नेहरू इभ्रोस नदी वा भूमध्यसागर पार गर्ने जोखिम उठाउँछन् । क्षमताभन्दा धेरै मानिस हालिएका जोखिमपूर्ण डुंगाबाट नदी वा समुद्र पार गर्न नचाहनेले २ सय ३ किलोमिटर लामो जंगलको बाटो पार गर्नुपर्छ । नवीनले परिवारसँग गरेको कुराकानी र उनीसँगै हिँडेका इलाम घर बताउने मोती गुरुङ, रोहित गुरुङ र नवलपरासी कावासोतीकै टीकाराम भट्टराईको भनाइअनुसार उनीहरू पनि पैदलमार्गबाट अगाडि बढे । २०१८ जुलाई २५ मा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीमा मोती गुरुङले कठ्यांग्रिँदो चिसोमा घना जंगलको बाटो हुँदै ७ रात ८ दिनसम्म हिँड्नुपरेको र त्यसक्रममा भोकैप्यासै हिँडिरहेका नवीन बिरामी परेको बताए । उनले भने, ‘नवीनलाई जंगलमै एक जना मान्छेको जिम्मा लगाएर एजेन्टले हामीलाई अघि बढायो, त्यसपछि के भयो थाहा छैन ।’ ग्रिसबाट सम्पर्कमा आएका मोती त्यसपछि भने सम्पर्कमा आएनन् । उनको फेसबुक अकाउन्ट पनि २०२० मार्च १५ यता अपडेट भएको छैन ।
१० दिनपछि फोन गर्छु भनेका भाइको कुनै खबर नआएपछि दीपेन्द्रले नवीनसहितको समूहलाई टर्कीबाट ग्रिस छिराउने जिम्मा लिएका मोहम्मद नाम गरेका पाकिस्तानी एजेन्टसँग ‘इमो’ मार्फत सम्पर्क गरेका थिए । मोहम्मदले ग्रिस जाने क्रममा नवीनको खुट्टा सुन्निएको र ज्वरोसमेत आएकाले अस्पतालमा उपचार भइरहेको बताएको तर कहाँको कुन अस्पताल हो भन्ने नखुलाएको दीपेन्द्रको भनाइ छ । न त नवीनसँगै ग्रिसका लागि हिँडेका अरू नेपालीलाई त्यसबारे थाहा छ ।
नवीन हराएको खबर सार्वजनिक भएको करिब सात महिनापछि नवीनसँगै यात्रा गरेका मोती गुरुङसँग सम्पर्क हुन सकेको थियो । त्यतिबेला ग्रिस पुगिसकेका उनी २५ दिन थुनामा बसेर छुटेका थिए । २०१८ जुलाई २ र २५ मा म्यासेन्जरमा कुराकानी हुँदा उनले इस्तानबुलबाट ग्रिस जानका लागि एक एजेन्ट, एक डोंकर (जंगलमा बाटो देखाउने मानिस) सहित चार नेपाली र तीन पाकिस्तानी मध्यरातमा सँगै हिँडेको बताए ।
छोराको पर्खाइमा बिताएका प्रत्येक दिनको सम्झना मात्रैले पनि यमकलालाई हुरुक्कै बनाउँछ । उनी भन्छिन्, ‘छोरो हराएपछि मेरा दिनरात हराएका छन् । मर्नु न बाँच्नु भएकी छु ।’

 

युरोप जाने भनेर हराएका छोरा नवीनको तस्बिर देखाउँदै नवलपरासीको छिपछिपेमा आमा यमकला तिवारी । तस्बिर : एपी र कान्तिपुर

बेवारिसे मृत्यु, न्यून उजुरी
संगठित मानव तस्करको प्रलोभनमा परी ११ देखि १५ लाख रुपैयाँ खर्चेर टर्की पुगेका अधिकांश नेपालीको एउटै ध्याउन्न हुन्छ– जसरी हुन्छ, ग्रिस पुग्ने । तर, युरोपेली संघको सदस्य र सम्पन्न देश ग्रिस छिरेपछि पनि नेपालीको यात्रा टुंगिँदैन । टर्कीको कोच युनिभर्सिटीका प्राध्यापक एवं माइग्रेसन रिसर्च सेन्टर का निर्देशक आमेत इस्डुगु लिखित ट्रान्सबोर्डर क्राइम बिटविन टर्की एन्ड ग्रिसः ह्युमन स्मग्लिङ एन्ड इट्स रिजनल कन्सिक्वेन्सेस् शीर्षकको अनुसन्धानपत्रमा टर्कीबाट ग्रिस छिरेकामध्ये १४ प्रतिशतको गन्तव्य बेलायत हुने, १३ प्रतिशतको जर्मनी, १३ प्रतिशतको ग्रिस, ६ प्रतिशतको इटाली र ५ प्रतिशतको फ्रान्स हुने उल्लेख छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा प्रमुख रहिसकेका डीआईजी टेकप्रसाद राई पनि ग्रिस पसेका नेपाली त्यहाँबाट युरोपका अन्य देश जाने प्रवृत्ति रहेको बताउँछन् ।
नवीन र मोतीसँगै हिँडेर ग्रिस पसेका रोहित गुरुङसँग २०१८ जुलाई १८ मा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीमा उनले आफूजस्तै गरी ग्रिस पुगेका नेपाली कोही पोर्चुगल र इटाली त कोही स्पेनतिर पुगिसकेको बताएका थिए । उनका अनुसार त्यतिबेला उनी ग्रिसको एउटा होटलमा दैनिक १० डलर ज्यालामा काम गरिरहेका थिए, जुन रकम एक दिनको खाना र बसाइका लागि पर्याप्त थिएन । उनले भनेका थिए, ‘ग्रिस छिरेका ७५ प्रतिशत नेपालीको हालत यस्तै हो ।’ त्यसपछि २०१९ डिसेम्बर २५ मा कुराकानी हुँदा भने उनी पनि पोर्चुगल पुगिसकेका रहेछन् ।
कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट संगठित मानव तस्करका एजेन्टलाई लाखौं रुपैयाँ बुझाएर अवैध रूपमा ग्रिस छिर्न खोज्ने नेपालीको यकिन विवरण प्रहरी र अन्य सरकारी निकायसँग छैन । डीआईजी राई अवैध रूपमा टर्की हुँदै ग्रिस छिर्ने क्रममा दुर्घटनामा पर्ने नेपालीको संख्या ठूलो भए पनि पीडितका परिवारले हराएको, मृत्यु भएको वा संगठित मानव तस्करीमा परेको सूचना नदिने भएकाले यकिन संख्या थाहा नहुने बताउँछन् । डीआईजी राईले भने जस्तै यमकलाले पनि छोराको खोजीका लागि कुनै सरकारी निकायमा निवेदन दिएकी छैनन् । नवीनलाई टर्की पठाउने काममा आफन्त नै जोडिएको हुँदा उनको परिवारले सरकारी पहलका लागि उदासीनता देखाएको हो ।
डीआईजी राई भन्छन्, ‘घटनाबारे अनौपचारिक सूचना आए पनि पीडितका परिवार प्रहरीमा आउँदैनन् । संगठित मानव तस्करीका अधिकांश घटनामा पीडितकै चिनजानका, छिमेकी वा आफन्त जोडिएका हुन्छन् ।’ यमकलाका अनुसार नवीनलाई टर्की पठाउन चाँजो मिलाउने बुटवल निवासी उनकै भिनाजु तुलसीप्रसाद न्यौपाने हुन् । साउदी अरबमा एक दशकभन्दा धेरै बसेका तुलसीले प्रक्रिया मिलाइदिएकै कारण यमकला ढुक्क थिइन् । घर छाड्ने दिन नवीनसँग भएको कुरा सम्झिँदै उनले भनिन्, ‘मासिक ३० हजारको काम मिल्छ । पार्टटाइम पाइयो भने अझै धेरै कमाइ हुन्छ भन्थ्यो तर, बेपत्ता भयो ।’
इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट्स का अनुसार सन् २०२२ को मेसम्मका पाँच महिनामा मात्रै टर्की–ग्रिस सीमा क्षेत्रमा २१ जना आप्रवासीको मृत्यु भएको छ । सन् २०२१ को जनवरी–फेब्रुअरीमा मात्रै १० जना आप्रवासीहरू सीमा क्षेत्रमा मृत भेटिएका थिए । अवैध बाटो भएर ग्रिस जानेहरूलाई एजेन्टले परिचय खुल्ने कुनै कागजात वा मोबाइल फोन राख्न दिँदैनन् । त्यसैले मृत वा मानसिक स्वास्थ्य बिग्रेको अवस्थामा भेटिएका यस्ता आप्रवासी कुन देशका हुन् भन्ने खुल्दैन ।
गएको ३ फेब्रुअरीमा टर्कीबाट अवैध रूपमा ग्रिस छिर्न खोजेका नेपाली, पाकिस्तानी र केही अफ्रिकीसहित करिब ५० जनालाई ग्रिसका सीमा सुरक्षा अधिकारीहरूले पक्राउ गरे । पक्राउ परेकालाई केही घण्टासम्म थुनामा राखी जुत्ता र न्यानो कपडा खोल्न लगाइयो । त्यसपछि उनीहरूलाई टर्कीतिर पैदलै फिर्ता पठाइयो । हिमपात भइरहेको त्यो बेला टर्कीतर्फ फर्कंदै गरेका १९ आप्रवासीहरूको चिसोले कठ्यांग्रिएर बाटोमै मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरे ।
टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वलकुमार घिसिङ हिमपात र अत्यधिक चिसोसँग जुध्दै फर्किनेहरूको समूहमा ८ जना नेपाली रहेको सूचना आफूले पाए पनि मृत्यु हुनेमध्ये नेपाली थिए/थिएनन् भन्नेचाहिँ थाहा पाउन नसकेको बताउँछन् ।
संसारभरि फैलिएको आप्रवासीको सामूहिक मृत्युको यो खबरले बैतडीका दिव्यदेव अवस्थीको परिवारलाई झस्कायो । यो त्यही बेला थियो जब दिव्यदेव इस्तानबुलबाट अवैध बाटो हुँदै ग्रिसतर्फ लागेका थिए । उनका भिनाजु वीरेन्द्रराज जोशीलाई ग्रिस जान हिँडेको टोलीमा आठ जना भए पनि सात जना मात्रै टर्की फर्केको सूचना प्राप्त भएपछि झनै आत्तिएको बताए । उनका अनुसार गएको १७ माघबाट सम्पर्कविहीन भएका दिव्यदेवको अझै अत्तोपत्तो छैन । ‘दिव्यको खबर थाहा पाउन हामी छट्पटाएका छौं तर यकिन सूचना पाउन सकेका छैनौं,’ जोशी भन्छन् ।
मृत्यु भएका आप्रवासीको सूचीमा पो दिव्यको नाम छ कि भनेर उनको परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखादेखि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोसम्म निवेदन दिएका छन् । ब्युरोका पूर्वप्रमुख राई दिव्यबारे थाहा पाउन प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत पत्राचार गरिए पनि कुनै खबर नआएको बताउँछन् ।
करिब एक वर्षअघि २५ कात्तिकमा पनि ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वको सीमावर्ती क्षेत्रमा आप्रवासी सवार गाडी दुर्घटनामा पर्‍यो । तीव्र गतिका कारण भएको उक्त कार दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । दुर्घटनालगत्तै नेपालमा रहेका परिवारले टर्कीबाट ग्रिसतर्फ लाग्दा सम्पर्कविहीन भएका आफन्तको खोजी सुरु गरे । उनीहरू प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेपछि ब्युरोले इन्टरपोलको सहायतामा उक्त दुर्घटनामा मृत्यु भएकाहरूको फोटो झिकायो । घटनाको ४० दिनपछि अर्थात् ५ पुसमा आफन्तले फोटो हेरेका भरमा मृतकको पहिचान गरे । जसमा दोलखाको भीमेश्वर–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ–५ का ओमबहादुर थापा थिए ।
घटनामा मृत्यु हुनेमध्ये लक्ष्मण र राजु कामदार भिसामा दुबई हुँदै टर्की पुगेका थिए । रसुवाको दुर्गम गाउँकी शर्मिला भने यसअघि १९ वर्षको उमेरमा इराक पुगेकी थिइन् । प्रतिबन्धका बाबजुद पनि इराक पुगेकी उनी त्यहाँबाट अवैध रूपमै टर्की छिरेकी थिइन् । दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका ओमबहादुर थापा मगर भने त्यहींबाट मानव तस्करको सहयोगमा टर्की पुगेका थिए ।
दुर्घटनामा घाइते भएका कैलालीका लोकराज आचार्यले जंगलको बाटो १३ दिनसम्म हिँडेर ग्रिसको सीमा छेउ पुगेको र त्यहाँबाट गाडी चढेर ग्रिस पस्ने क्रममा दुर्घटना भएको बताए । अहिले ग्रिसमा रहेका उनी पनि गरिरहेको काम र पारिश्रमिकबाट सन्तुष्ट छैनन् ।

सुख खोज्दा दुःख मात्रै
सम्बन्धित परिवारका अनुसार संगठित मानव तस्करका विभिन्न एजेन्टमार्फत टर्की पुग्नेहरूले औसतमा १० देखि १५ लाख खर्च गर्छन् । जसमा एजेन्ट खर्च, विमान टिकट र खाने–बस्ने खर्च पनि जोडिएको हुन्छ । ग्रिस जानका लागि नवीनसँगै नेपालबाट हिँडेका रोहितले इस्तानबुलमा बस्ने एजेन्ट आशिष घिमिरेलाई थप २ हजार ९ सय डलर बुझाएपछि मात्रै एक पाकिस्तानी एजेन्टमार्फत ग्रिसतर्फ लाग्न पाएका थिए । ग्रिस जाने अवैध बाटो कतिसम्म सकसपूर्ण छ भने यस्तो बाटो रोज्नेहरू हिंसा, यातना र दुर्घटनामा मात्रै पर्दैनन् कहिले सुरक्षाकर्मीबाट पक्राउ पर्ने त कहिले बन्धक बनाइने सम्भावना पनि उत्तिकै हुन्छ । जस्तो कि, गत अप्रिल ४ मा टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ जना नेपालीलाई ग्रिस जाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
त्यसको केही दिनपछि २६ अप्रिलमा टर्कीको ताक्सिम स्क्वायरमा चार जना नेपालीलाई ६ जना पाकिस्तानी हतियारधारीले बन्धक बनाएका थिए । टर्कीबाट ग्रिस लैजाने एजेन्टको रूपमा ती पाकिस्तानीसँग नेपालीको भेट भएको थियो । दुई पुरुष र दुई महिला नेपाली बन्धक भएको खबर थाहा पाएपछि टर्की प्रहरीले बन्धक बनाउने एक सदस्यलाई पक्राउ गरी नेपालीलाई छुटाउन सफल भएको थियो ।
सन् २०१६ र २०१७ का चार महिना ग्रिसको ठूलोमध्येको आप्रवासी शिविर, मोरिया क्याम्पमा काम गरेका एक दोभाषेका अनुसार टर्कीबाट ग्रिस जानेमध्ये अधिकांश नेपाली मानव तस्करकै सहायतामा जान्छन् ।
संस्थागत आबद्धताका कारण नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, ‘एजेन्टले समूह बनाएर बिहानको ३/४ बजे नै हिँडाउने रहेछन् । बाटोमा पर्ने ठूलो नदी तर्न सानो डुंगामा कोचाकोच मानिस हालिन्छन् ।’ उनका अनुसार यसरी ग्रिस पुगेकाहरूले शरणार्थी बन्नका लागि आवेदन दिने क्रममा आफू नेपालमा सशस्त्र हिंसा वा जातीय दंगाको सिकार भएकाले स्वदेश फर्किन नसक्ने तर्क प्रस्तुत गर्छन् ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा टर्कीमा आकर्षक रोजगारीको प्रलोभनबाट ठगिएका ३७ उजुरी परेका थिए । आर्थिक वर्ष २०७६/७७ मा भने टर्की लगिदिने भन्दै ३९ लाख रुपैयाँ ठगेको एउटा मात्र उजुरी परेको थियो । यस्तो ठगीको उजुरी दिने आर्थिक वर्ष २०७७/७८ मा चार जना थिए । उजुरीमा यी चारै जनाबाट एजेन्टले जनही साढे २२ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइराला टर्की र ग्रिस लगिदिने भन्दै ठग्नेहरूको संख्या ठूलो भए पनि उजुरी निकै कम पर्ने गरेको बताउँछन् । २०७५ जेठ २७ मा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भने यस्तो उजुरी एउटा मात्रै परेको छ । काठमाडौंको टोखा–३ बस्ने मोरङको पथरी शनिश्चरेकी ‘बबरमहल ६१’ (प्रहरी मिसिलमा परिवर्तित नाम) ले आफू र छोरीलाई समेत आकर्षक रोजगारीको प्रलोभन देखाएर टर्की पुर्‍याई अलपत्र पारेको भन्दै २०७७ फागुन ५ मा उजुरी दिएकी थिइन् ।
बूढानीलकण्ठमा फेन्सी पसल गर्ने ‘बबरमहल ६१’ लाई अनिल डंगोलले जानुका लामा घिसिङसँग सम्पर्क गराइदिएका थिए । जानुकाले दुवै आमा–छोरीलाई ग्रिसमा मासिक ८० देखि ९० हजार रुपैयाँ आम्दानी हुने काम लगाइदिने प्रलोभन देखाइन् । त्यसपछि जानुकामार्फत आमा–छोरीले स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका लागि गोंगबुमा औषधि पसल सञ्चालन गर्ने पूर्णिमा बस्नेतलाई भेटे । पूर्णिमाले उनीहरूको सम्पर्क आफ्ना बाबु भन्दै लक्की सिंह भनिने किस्मत सिंहसँग इमोमार्फत गराइन् । विदेश जानकै लागि उनीहरूले टोखामा रहेको चार आना जग्गा बेचेर पूर्णिमालाई आठ लाख रुपैयाँ दिए ।
२०७७ असोज २२ मा टर्की पुगेका आमा–छोरीलाई लक्कीले काम मिलाइदिने भन्दै करिब तीन महिनासम्म बन्धकजस्तै बनाएर राखे । एक दिन लक्कीले आमालाई काम लगाइदिने भन्दै टर्कीको सीमा क्षेत्रमा पुर्‍याए, छोरी कोठामै थिइन् । त्यसैबेला छोरीचाहिँ टर्कीस्थित गैरआवासीय नेपाली संघको सम्पर्कमा पुग्न सफल भइछन् । संघकै पहलमा उनी २०७७ मंसिर ८ मा नेपाल फर्किइन् । आमालाई भने लक्कीले ग्रिस लैजाने भन्दै चार पटकसम्म जंगलमा हिँडाउँदै फर्काउँदै गरे । ‘बबरमहल ६१’ ले प्रहरी बयानमा भनेकी छन्, ‘ग्रिस छिर्न जंगलको बाटो हिँडिरहेका बेला एक जना पाकिस्तानी मरेको देखेपछि म बरु आत्महत्या गर्छु अगाडि बढ्दिनँ भनेर रोइकराइ गरें र, मलाई लक्कीले फिर्ता ल्यायो ।’
प्रहरीमा उनले गरेको बयानअनुसार लक्कीले यो प्रक्रियामा संलग्न ‘पूर्णिमा र जानुकालाई केही गर्ने छैन’ भन्ने व्यहोराको कागज गराएपछि मात्रै उनलाई नेपाल फर्काउन तयार भएका थिए । नेपाल फर्केपछि भने आमा–छोरीले आफूहरू ठगिएको र करिब २० लाख रुपैयाँ गुमाएको जाहेरी प्रहरीमा दिए । यही जाहेरीका आधारमा प्रहरीले बाफलस्थित श्रम कार्यालय बाहिर बसेर एजेन्टको काम गर्ने जीवन भट्टलाई काठमाडौंको तारकेश्वरबाट र पूर्णिमा बस्नेतलाई माछापोखरीबाट पक्राउ गर्‍यो । २०७७ चैत १८ मा काठमाडौं जिल्ला अदालतले मुख्य प्रतिवादी भट्टलाई तीन लाख धरौटीमा र बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । घटनामा जोडिएका अर्का प्रतिवादी लक्की सिंहलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउने प्रयासमा छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अमेरिकासँगै युरोपका ग्रिस, टर्की, क्रोएसिया, रोमानिया पठाइदिने संगठित मानव तस्करको गिरोह नेपालमा सक्रिय छ । यी तस्करहरूले भारतीय र पाकिस्तानी गिरोहअन्तर्गत रहेर अवैध रूपमा सिमाना कटाउने काम गर्छन् । टर्की हुँदै ग्रिस पस्न खोज्ने धेरै नेपालीको अपेक्षा भने राम्रो काम पाए ग्रिसमै बस्ने, नपाए पोर्चुगलतर्फ लाग्ने हुन्छ । ब्युरोका अनुसार पछिल्ला दुई वर्षमा संगठित मानव तस्करले अवैध रूपमा अमेरिका पुर्‍याएका १ सय ५० जना नेपाली घर फर्काइए तर, यीमध्ये तीन जनाले मात्रै प्रहरीमा उजुरी दिएका छन् । ग्रिस र टर्कीका लागि समेत राजदूत रहेका पाकिस्तानका लागि आवासीय नेपाली राजदूत तपस अधिकारी पनि पछिल्लो डेढ वर्षमा टर्कीबाट दुई नेपालीको ‘केस’ मात्रै आफूकहाँ आएको बताउँछन् । ‘ती दुई केस पनि टर्कीमा कामदार भिसा सकिएपछि मृत्यु भएका नेपालीका थिए,’ उनी भन्छन् ।
आप्रवासीहरूको सामूहिक मृत्यु भएको पछिल्लो घटनाबारे भने दूतावासले टर्की सरकारसँग सोधखोज गर्दा उक्त घटनामा कोही नेपाली नपरेको खबर आएको उनले बताए । अवैध बाटोबाट यात्रा गर्दा हुने मृत्यु, बेपत्ता, दुर्घटना र अन्य दुःखका खबरहरू सार्वजनिक भइरहँदा पनि लाखौं खर्च गरेर टर्की–ग्रिसको यात्रा गर्ने क्रम भने रोकिएको छैन ।

Page 5
समाचार

चिनियाँ नजर नेपाली संसद्तिर

पहिले राजतन्त्र, त्यसपछि राजनीतिक दल र सरकार, अहिले आएर नेपालको संसद्तिर चिनियाँ चासो रहेको अध्यक्ष लीको भ्रमणले प्रस्ट पारेको छ
- जगदीश्वर पाण्डे

(काठमाडौं)
नेपाललाई भूराजनीतिक र रणनीतिक रूपमा उच्च प्राथमिकतामा राखेको चीनले यहाँको संघीय संसदसँग पनि सम्बन्ध बढाउन चाहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को राष्ट्रिय जनकंग्रेस र नेपालको संघीय संसद्बीच सहकार्य गर्दै चीनले नेपालको नीति/निर्माण तहमा समेत सम्बन्ध विस्तार गर्न लागेको हो ।
पहिले राजतन्त्र, त्यसपछि राजनीतिक दल र सरकार तथा अहिले आएर नेपालको संसद् र यसको प्रणालीमा चीनले चासो राख्न खोजेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुको आगामी सोमबारबाट हुने नेपाल भ्रमणले यस्तो सहकार्यमा बल दिनेछ । राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि आफ्नो नजिकको मित्र लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । भूराजनीतिमा विद्यावारिधि गरेका रूपक सापकोटा यो भ्रमणले दुई मुलुकको संसद् र संसदीय व्यवस्थासँग सहकार्य गर्न सहयोग गर्ने ठान्छन् । ‘नेपालले विभिन्न मुलुकसँग संसद्–संसद् नीति/निर्माणमा विचारहरू आदान–प्रदान गर्दै आइरहेको छ, यो पनि त्यसैको निरन्तरता हो ।’
साढे एक दशकअघि २०६२/६३ आन्दोलनअघि चीनको सबैभन्दा भरपर्दो र सहकार्य गर्ने साथीको रूपमा राजतन्त्र थियो । २०१७ सालदेखि झन्डै ५० वर्ष चीनले नेपालको राजतन्त्रबाहेक अन्य निकायलाई आफ्नो विश्वासिलो पात्रको रूपमा लिएन । किनकि राजतन्त्र रहँदा चीनको तिब्बतलगायतको सुरक्षा चासो नेपालले पूर्णरूपमा पूरा गरिदिएको थियो ।
लोकतन्त्र आएपछि चीनले नेपालका राजनीतिक दलसँग सहकार्य थालेको थियो । सरकारको सबै संवैधानिक र कार्यकारी पदहरूमा राजनीतिक दलकै सिफारिसमा नियुक्ति हुन थाले । चीनको झुकाव आफ्नो जस्तै विचारधारा भएका वामपन्थी पार्टीहरूमाथि रह्यो । त्यही सिलसिलामा २०७४ सालको निर्वाचनअघि नेपालमा वामपन्थी मिलाउने अभियानमा चिनियाँहरू लागेका थिए । मिलाउन सफल पनि भए । नेपालका वामपन्थीलाई सी विचारधारा पनि पढाए । सरकार र पार्टी कसरी चलाउन सकिन्छ भन्ने शिक्षा नेपाली कम्युनिस्टहरूले चीनबाट सिके । त्यही मौका पारेर २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको रूपमा सी चिनफिङले नेपाल भ्रमण पनि गरे ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपालकै ठूलो नेकपा फेरि पुरानै अवस्थामा फर्कियो । सुरुवातमा चीनले नेपालमा आफ्नो प्रतिनिधि पठाएर विवाद मिलाउने कोसिस गर्‍यो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी हरेक कम्युनिस्ट नेताहरूको घरदैलोमा पुगिन् । तर, चीनले सोचेजस्तो वामपन्थी मिलेर अघि बढ्न सकेनन् । एमाले र माओवादी पुरानै अवस्थामा पुगे ।
चीनको पछिल्लो चासो रह्यो, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौतामा । अमेरिकाले उक्त परियोजनाअन्तर्गत नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५०० मिलियन अमेरिकी डलर उपलब्ध गराउने सम्झौता संसद्बाट गत फागुन १५ मा अनुमोदन भएको थियो । त्यसलाई नेपालले स्वीकार गर्न नहुने टिप्पणी चीनले पनि गर्‍यो । एमसीसी सम्झौता अनुमोदन हुनुअघि र पछि बेइजिङबाट चीनले टिप्पणी गरेको थियो । साथै, नेपालका वामपन्थी पार्टीहरूलाई पटक–पटक भेटेर, टेलिफोन गरेर, भिडियो कल गरेर चिनियाँ नेताहरूले एमसीसी अघि नबढाउन अनुरोध गरेका थिए । त्यसका बाबजुद संसद्बाट सम्झौता अनुमोदन भयो । चीनले एमसीसी सम्झौतालाई आफ्नो भूराजनीतिक रणनीतिक चासोको रुपमा लिएको छ ।
पञ्चायतकालमा पनि चीनका पोलिटब्युरो र अन्य तहका नेताहरूको टोली नेपाल भ्रमणमा आउने गरेको संघीय संसद्का महासचिव मनोहर भट्टराईले जानकारी दिए । उनले २०३७ सालदेखि २०७७ सालसम्म दुई कार्यकाल संसद्को महासचिव हुँदा नेपालमा धेरै मुलुकबाट संसदीय टोली आएको र नेपालबाट पनि विदेशमा संसदीय टोली गएको बताए । ‘संसदीय टोलीहरूको भ्रमण आदान–प्रदानले दुई मुलुकको सांसदबीच संसदीय प्रक्रिया, प्रणाली तथा नीति निर्माणका विषयमा विचार आदान–प्रदान हुन्छ,’ उनले भने, ‘चीनले नेपालमा पञ्चायतकालदेखि नै आफ्नो राष्ट्रिय कंग्रेसको टोलीलाई पठाउने गरेको छ । अहिले अध्यक्ष लीको भ्रमणलाई त्यसैको निरन्तरताको रूपमा पनि लिन सकिन्छ ।’
नेपालको अहिले भारत र चीनसहित विश्वका विभिन्न ३३ देशसँग संसदीय मैत्री समूह गठन गरिएको छ । जसले गर्दा एकपछि अर्को संसदीय टोलीको भ्रमण भइरहेको छ । उदाहरणका लागि अहिले फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । उक्त प्रतिनिधिमण्डलले बिहीबार (भदौ २३) मात्रै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेको थियो । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमोनको नेतृत्वमा उक्त प्रतिनिधिमण्डल नेपाल आएको हो ।
यस्तै, वैशाख दोस्रो साता नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा अमेरिकी सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा संसदीय प्रतिनिधिमण्डलले नेपालमा तीन दिन बिताएको थियो । नेपालबाट पनि लगातार रूपमा संसदीय टोलीहरूले विदेशी संसद्को भ्रमण गरिरहेका छन् । नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ छन् । पूर्वमहासचिव भट्टराई नेपालमा भारतभन्दा चीनबाट बढी संसदीय टोलीको भ्रमण भएको मान्छन् । ‘भारतबाट व्यक्तिगत रूपमा आउने–जाने हुन्छ तर चीनबाट समूहगत रूपमा भ्रमणहरू हुन्छन्, यो भ्रमणमा चिनियाँको चाहना के छ भन्ने पनि मुख्य कुरा हो,’ उनले भने ।
महासचिव भट्टराई आफ्नो ४० वर्षको कार्यकालमा दक्षिणभन्दा उत्तरबाट बढी संसदीय टोलीको भ्रमण भएको मान्छन् । सन् १९८० देखि १९८९ सम्म दुईपटक भारतीय लोकसभाका सभामुख बलराम जाखरले नेपालको एकपटक भ्रमण गरेको भट्टराईले बताए । त्यसपछि भारतबाट त्यो तहमा संसदीय तहबाट भ्रमण भएको छैन ।
भूराजनीतिक जानकार चन्द्रदेव भट्ट चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको नेपाल भ्रमणले उनीहरूले नेपाललाई पछिल्लो समय महत्त्वपूर्ण प्राथमिकता लिएको मान्छन् । उनले नेपाल र चीनको राजनीतिक प्रणाली फरक भए पनि दुई मुलुकका संस्था मिलेर अघि बढ्दा भोलि राम्रो सम्बन्ध हुँदै जाने बताए । चीनबाट एक सय जनाभन्दा बढीको टोली जसमा करिब ६ जना क्याबिनेट स्तरका नेतासमेत रहने उल्लेख छ । ‘यसले के स्पष्ट पार्छ भने चीनले पछिल्लो समय नेपाललाई अगल किसिमले प्राथमिकतामा राखेको छ,’ उनले भने ।
नेपालले संसदबाट एमसीसी अनुमोदन गरेपछि चीनबाट तीन उच्च तहका भ्रमणहरू भइरहेका छन् । चैतमा चीनका विदेशमन्त्री वाङ यी र त्यसपछि सीपीसीका विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपाल भ्रमण गरिसकेका छन् । फेरि अध्यक्ष ली आउँदैछन् । अहिले मध्य हिमालय क्षेत्रमा नयाँ किसिमको शक्ति संघर्ष भएको र नेपाल पनि त्यही क्षेत्रमा रहेको कारण पछिल्लो समय अमेरिका र चीनबाट लगातार रुपमा भ्रमण भइरहेको भट्ट बताउँछन् । ‘त्यसैले नेपालमा अमेरिका र चीन दुवैतर्फबाट लगातार रूपमा भ्रमण भइरहेका छन्, चाहे त्यो जलवायु परिवर्तनको नाममा होस् या संसद् सहकार्यको नाममा, त्यसले यो क्षेत्रमा शक्ति संघर्ष बढेको देखाउँछ,’ उनले भने, ‘पछिल्लो समय चीनबाट यसरी भइरहेको भ्रमणले अहिले चिनियाँहरू एक्टिभ डिप्लोमेसीमा लागेको देखाउँछ ।’

समाचार

खनालको ‘अन्तिम’ लडाइँ

पाँचवटा संसदीय चुनावमा विजय हासिल गरेर प्रधानमन्त्रीसम्म बनेका खनालले आफ्नै क्षेत्रको विकास निर्माणमा बेवास्ता गरेको मतदाताको गुनासो
- बबिता शर्मा

(काठमाडौं)
२०४८ यताका ६ संसदीय निर्वाचनमा टिकिरहेका झलनाथ खनालका लागि आसन्न चुनाव फरक तर चुनौतीपूर्ण हुनेछ । २०७४ सम्मका हरेक संसदीय निर्वाचनमा एमालेबाट चुनावी लडाइँ लडेका उनले पाँच जित र एक हार बेहोरेको इतिहास छ । यसपटक भने उनी एकीकृत समाजवादीका तर्फबाट कलम चिह्न लिएर चुनावी मैदानमा उत्रँदै छन् । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता रहेका उनी सम्भवतः आफ्नो संसदीय राजनीतिक यात्राको ‘अन्तिम’ लडाइँमा छन् ।
७३ वर्षीय खनालका लागि आसन्न प्रतिनिधिसभा निर्वाचन नितान्त फरक अनुभवका साथै कठिन हुने निश्चित छ । फरक यस अर्थमा कि विगतमा लगातार कांग्रेस नेतासँग प्रतिस्पर्धा गरेका उनी यसपटक भने कांग्रेसकै समर्थनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनेछन् । ‘निःसन्देह यसपटक निर्वाचनमा मेरा मतदाता नयाँ–नयाँ हुनेछन् । जुन खालका मतदाताले पहिला मलाई हराउनुपर्छ भन्ने ठान्थे, अहिले तिनैले समेत जिताउनुपर्छ भनेर लाग्ने अवस्था सिर्जना भएको छ,’ खनालले कान्तिपुरसँग भने, ‘विश्वास छ, इलाम–१ ले मलाई माया गर्छ, अर्को ५ वर्ष यो क्षेत्रलाई सेवा गर्ने मौका पाउँछु ।’ इलाममा एकीकृत समाजवादीको ठूलो संगठनात्मक शक्ति छैन, जसले आगामी निर्वाचन खनालका लागि ०७४ जस्तो सहज हुने छैन । तर उनी आसन्न निर्वाचनमा केही नयाँपन भए पनि चुनौती नरहेको दाबी गर्छन् । कांग्रेस, माओवादी र जसपाका मतदाता रिझाएर आफ्नो जित सुरक्षित गर्नुपर्ने खनालमाथि दबाब छ । एमालेले कस्तो उम्मेदवार उठाउँछ, त्यसले पनि नतिजा प्रभावित पार्नेछ ।
एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसी खनालको व्यक्तित्व प्रभाव र गठबन्धनको मतले जित सहज भएको दाबी गर्छन् । ‘०७४ मा १७ हजारभन्दा बढी मतले जित्नुभएको थियो । अहिले गठबन्धन भए १० हजारभन्दा बढी मतले जित्नुहुन्छ,’ केसी भन्छन्, ‘हाम्रो आफ्नै पनि १५ हजारजति भोट छ । त्यसबाहेक उहाँ राष्ट्रिय महत्त्वको व्यक्ति भएकाले एमालेबाट पनि मत आउँछ ।’ तर, पाँच–पाँचवटा संसदीय चुनावमा विजय हासिल गरेर प्रधानमन्त्रीसम्म बने पनि खनालले आफ्नै क्षेत्रको विकास निर्माणमा बेवास्ता गरेको मतदाताको गुनासो छ ।
०७९ को स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने आफ्नो क्षेत्रमा खनाल पार्टीकै बलमा मात्रै एक्लै निर्वाचन जित्ने अंकगणितमा छैनन् । निर्वाचन आयोगका अनुसार वडाध्यक्षको मतका आधारमा इलाम १ मा एमालेको २६ हजार २ सय ३३, कांग्रेस २५ हजार ७ सय ७२, एकीकृत समाजवादी ९ हजार ४ सय ८१, जसपा १ हजार ८ सय २९, माओवादीको १ हजार २ सय ३५, राप्रपा १ हजार १ सय ६९ मत छ । एकीकृत समाजवादीले गठबन्धनबाट खनालकै निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाको प्रमुख र सन्दकपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जिल्ला अध्यक्ष केसीका अनुसार स्थानीय निर्वाचनमा वार्डमा गठबन्धन भएको थिएन । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एकीकृत समाजवादीले सूर्योदयका ५ वडामा अध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा भने एमालेसँग तालमेल गरेर उपप्रमुख र केही सदस्यमा आफ्नो उपस्थिति जनाएको छ ।
०७४ मा इलाम १ बाट खनालले ३६ हजार ८ सय ५ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत ल्याए । खनालले २०४८, ०५१, ०६४ र ०७० मा पनि इलाम १ बाटै निर्वाचित भई संसद्मा प्रतिनिधित्व गरेका थिए । ०४८ र ०५१ को संसदीय निर्वाचनमा उनले कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए । ०५१ मा भट्टराईलाई २ सय १० को झिनो मतले मात्र पराजित गरेका थिए । ०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए ।
०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने खनालले कांग्रेसका प्रसाईंसँग अघिल्लो हारको बदला लिए भने ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गरे । पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित खनाल पार्टी संसदीय दलको नेतासमेत बने । पटकपटक मन्त्री भएका उनले एक पटक प्रधानमन्त्री बन्ने अवसर पनि पाइसकेका छन् । २०६७ माघमा माओवादीको समर्थनमा प्रधानमन्त्री निर्वाचित खनाल पार्टीभित्रैकै कलहका कारण नौ महिनामै बाहिरिनुपरेको थियो ।
२००६ चैत ६ मा इलामको साँखेजुङमा जन्मेका खनालले विगतमा एमाले निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । लामो समय संसदीय निर्वाचनमा सहभागी हुँदै आएका उनले आसन्न निर्वाचन अन्तिम हुन सक्ने संकेत गरेका छन् । ‘मैले केही समयअघिदेखि यो चुनाव मेरो निम्ति अन्तिम पनि हुन सक्छ भनेको छु तर ठोकुवा गरेको छैन,’ खनाल भन्छन्, ‘अब म यो चुनावपछि नयाँ युवालाई अघि बढाउने पक्षमा छु ।’

विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिस्ट राजनीतिमा लागेका खनाल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको पोलिटब्युरो सदस्य हुँदै महासचिव भएका थिए । २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि राजनीतिक जीवन भने २०२१ सालदेखि सुरु गरेका थिए । खनाल २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भए । ०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म मालेको महासचिव रहे, जतिबेला उनी ३३ वर्षका थिए । २०४६ मा संयुक्त वाममोर्चाको गठनमा पनि उनको भूमिका थियो । ०४७ मा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य बनेका उनी पाँचौं, छैटौं र सातौं महाधिवेशनपछि केन्द्रीय पोलिटब्युरो र स्थायी कमिटीमा थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा एमालेले लज्जास्पद पराजय व्यहोरेलगत्तै तत्कालीन महासचिव माधव नेपालले राजीनामा दिएपछि खनाल केही समय महासचिव बने । २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भए । २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली बने, खनाल पार्टीको वरिष्ठ नेता भए । पछि एमाले र माओवादी एकतापछि बनेको नेकपामा उनी वरिष्ठ नेता एवं सचिवालय सदस्य थिए ।
झापा विद्रोहपछि २०३१ सालमा गठित कोओर्डिनेसन कमिटीको उनी संस्थापक सदस्य हुन् । २०३४ सालमा मालेका संस्थापक सदस्य भएका खनाल चार वर्षपछि महासचिव भए । २०४६ सालको आन्दोलनको सफलतासँगै खुलामञ्चबाट जेएन खनालको नाममा उनी सार्वजनिक भएका थिए । जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरणमन्त्री थिए । ०४६ मा सम्पन्न चौथो महाधिवेशनपछि मदन भण्डारी नेतृत्वमा आए । एमालेले २०४९ सालमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित गर्दा सीपी मैनाली र खनालको नौलो जनवादको कार्यनीति अल्पमतमा पर्‍यो । भण्डारीको जबजलाई खनालले ‘दक्ष प्रजापतिको टाउको जस्तो’ भनेर टिप्पणी गरेका थिए । जबजको आफ्नो कार्यनीति पारित भएपछि भण्डारीले खनाललाई पोलिटब्युरो सदस्य बनाएनन् । दासढुंगा दुर्घटनामा भण्डारीको निधनपछि भने उनी पोलिटब्युरो सदस्य भए ।

समाचार

नेपाल–भारत परराष्ट्र सचिव वार्ता मंगलबार

कालापानी–लिपुलेकलगायतका सीमा विवादबारे वार्ता हुनेमा अन्योल

काठमाडौं (कास)– नेपाल–भारत परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ता नयाँदिल्लीमा मंगलबार हुने भएको छ । परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई दुई मुलुकका सीमा समस्या समाधान गर्नेसहितका जिम्मेवारी दिइएको छ । त्यसैले दुई वर्षको अन्तरालमा हुन लागेको वार्तालाई महत्त्वपूर्ण रूपमा लिन सकिन्छ ।
यो वार्तामा लिपुलेक र कालापानीको सीमा विवादबारे छलफल हुने/नहुने टुंगो लागिसकेको छैन । यसबारे अन्योल रहेको स्रोतको दाबी छ । २०७७ को मंसिर ११ र १२ मा भारतका तत्कालीन विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको औपचारिक भ्रमणमा आएर द्विपक्षीय वार्ता गरेयता परराष्ट्र सचिवस्तरीय वार्ता हुन सकेको छैन ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालले शुक्रबार संयुक्त रूपमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता हुन लागेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल भदौ २८ र २९ मा नयाँदिल्ली जान लागेका हुन् । पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग भदौ २८ मा समग्र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्ने एजेन्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको विदेश मन्त्रालयले भने विज्ञप्तिमा दुई देशबीच उच्च तहको भ्रमणमा गरिएका प्रतिबद्धतालगायत विषयमा छलफल हुने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतमा भारत भ्रमण गरेका थिए भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठमा नेपाल भ्रमणमा आएका थिए ।
भारतले आगामी वार्तामा हुने विषयबारे इंगित गरे पनि नेपालले त्यसबारे जानकारी गराएको छैन । परराष्ट्र स्रोतका अनुसार यस्ता बैठकमा दुईपक्षीय रूपमा थाती रहेका जुनसुकै विषयमा छलफल हुन सक्नेछ । ‘सीमा समस्याको सम्बन्धमा पनि छलफल हुन सक्छ,’ स्रोतले भन्यो । नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद कायम छ । पछिल्लो समय दुवै मुलुकले आ–आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सीमा समस्या पेचिलो बनेको छ । भारतले २०७६ कात्तिकमा नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि नेपालले विरोध जनाएर कूटनीतिक नोट पठाएको थियो । तर कोभिड–१९ को कारण देखाउँदै भारतले वार्तालाई टारिरह्यो । त्यसको ६ महिनापछि कालापानी–लिपुलेक क्षेत्रमा सडकको ट्र्याक खोलेर भारतले उद्घाटन गरेपछि नेपालले फेरि कूटनीतिक नोट पठाएको थियो । त्यसमा पनि भारत वार्तामा आउन तयार भएन । त्यसपछि नेपालले २०७७ जेठ ७ मा लिम्पियाधुरासम्मको भूभाग समेटेर ‘चुच्चे’ नक्सा जारी गर्‍यो । त्यसले भारत चिढियो । दुई मुलुकबीच सीमा विवादलाई लिएर संवाद गर्ने वातावरण पनि बनेन । त्यसयता नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संवाद नयाँदिल्लीमा र परराष्ट्र सचिवस्तरीय संवाद काठमाडौंमा भएको थियो तर सीमा मामिलाको सम्बन्धमा महत्त्वका साथ कुरा उठेन ।
प्रधानमन्त्री शेरबहादुर देउवा गत चैतमा भारत भ्रमणमा जाँदा सीमा विवादको विषयलाई पहिलो पटक उच्च राजनीतिक तहमा प्रवेश गराए । चैत २० मा मोदीसँग द्विपक्षीय वार्तापछि गरिएको संयुक्त पत्रकार सम्मेलनको अन्त्यमा प्रधानमन्त्री देउवाले भनेका थिए, ‘हामी (देउवा र मोदी) ले सीमा समस्याबारे छलफल गर्‍यौं, मैले मोदीजीलाई यो विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भनेको छु ।’
त्यही दिन नयाँदिल्लीमा भएको पत्रकार सम्मेलनमा भारतका तत्कालीन विदेश सचिव हर्षवर्धन श्रृंगलाले सीमाका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो भनाइ राखेको बताएका थिए । ‘यस मामिला (सीमा विवाद) मा संक्षित रूपमा छलफल भएको थियो, दुवै पक्षले यसलाई वार्ताका माध्यमबाट जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भनेर आमसमझदारी भयो, हाम्रो नजिक र मैत्री सम्बन्धको भावनाका कारणमा सीमा विवाद समाधान गर्नुपर्छ, यस्तो विषयलाई राजनीतीकरण गर्नु हुन्न,’ उनले भनेका थिए । साथै, उनले दुई प्रधानमन्त्रीबीच सौहार्दपूर्ण संवाद भएको उल्लेख गर्दै समस्या समाधानका लागि मित्रवत् बाटो खोज्नेमा शंका नरहेको बताए । उनले भने, ‘दुई छिमेकी मित्रराष्ट्रहरू बीचको महत्त्वपूर्ण पक्ष भनेको आपसमा छलफल गरेर समस्या समाधान गर्न सक्नु हो । हामीले त्यसरी नै बंगलादेशसाग सीमा समस्या समाधान गरेका छौं । नेपालसँग पनि हाम्रा केही संयन्त्र छन् । यस विषयलाई अघि बढाउन जिम्मेवार छलफल र वार्ताका लागि हामी गम्भीर छौं ।’
त्यसपछि भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको एक दिनअघि वैशाख ३० मा नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै विदेश सचिव विनयमोहन क्वात्राले सीमाका विषयमा हल निकाल्न द्विपक्षीय संयन्त्र (परराष्ट्र सचिवस्तरीय) रहेको र यो विषयलाई थप राजनीतीकरण नगर्न आग्रह गरेका थिए । उनले जिम्मेवारपूर्ण ढंगले व्यवहार गर्न अनुरोध गरेका थिए । पूर्वविदेश सचिव श्रृंगला र हालका सचिव क्वात्राले भन्दै आएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक मंगलबार नयाँदिल्लीमा हुन लागेको हो ।
दुई मुलुकबीच सीमा समस्याका विषयमा सचिवस्तरीय वार्ता नै आवश्यक रहनुको कारण यसअघि दुई मुलुकका प्रधानमन्त्रीबीच भएको सहमति हो । मोदी सन् २०१४ मा प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका बेला जारी गरिएको संयुक्त विज्ञप्तिमा सीमा समस्या समाधानमा जोड दिने उल्लेख थियो । उक्त विज्ञप्तिको बुँदा १ मा भनिएको थियो, ‘दुवै प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादलाई सदाका लागि समाधान गर्नुपर्नेमा जोड दिँदै नो म्यान्स ल्यान्ड (दशगजा) को जग्गा खारेजलगायत सीमा स्तम्भको निर्माण, पुनःस्थापना र मर्मतका लागि सीमा कार्य समूह (बीडब्लूजी) गठन गरिएकामा स्वागत गरेका छन् ।’
उक्त संयुक्त विज्ञप्तिअनुसार दुवै मुलुकका प्रधानमन्त्री (मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला) ले कालापानी र सुस्तालगायत बाँकी रहेका सीमा समस्यामा बीडब्लूजीबाट आवश्यक प्राविधिक जानकारी प्राप्त गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिने संयुक्त आयोगको निर्णयलाई पनि स्वागत गरेका थिए । तर सहमतिअनुसार सीमा समस्या समाधानका लागि दुई मुलुकका परराष्ट्र सचिवस्तरीय संवादवार्ता अहिलेसम्म नै हुन सकेको छैन । वार्ता भए पनि अन्य विषयहरू मात्र भएका छन् ।

Page 6
वाग्मती प्रदेश

चिहानमाथि बजार

- टीकाप्रसाद भट्ट

(रामेछाप)
केही वर्षअघिसम्म स्थानीयको अन्त्येष्टि गरिँदै आइएको मानेडाँडामा अहिले महल ठडिएका छन् । बर्सेनि घर थपिँदा अन्तिम संस्कार गर्ने स्थल (चिहान) केही माथि सरेको छ । घना बस्ती बसिसकेको मानेडाँडाको स्वरुप त परिवर्तन भएकै छ, नामसमेत परिवर्तन भएर अहिले दोरम्बा भइसकेको छ ।
मानेडाँडा क्षेत्रमा नापी नक्सा भएको छैन । मुख्य बजार रहेकै क्षेत्रको सबैजसो जमिन सार्वजनिक हो । हालसम्म जम्मा २ वटा घर बनाउँदा मात्र नम्बरी जग्गा भनेर नापी गरिएको सरकारी रेकर्ड छ । बजार अव्यवस्थित हुँदै गएपछि सरकारले दोरम्बामा नगर विकास समिति गठन गरेर सार्वजनिक जग्गा अतिक्रमण रोक्ने प्रयास भएको थियो । सरकारले दोरम्बा विकास योजना पनि बनाएको छ । दोरम्बादेखि अग्लेश्वरीको खर्कसमेत समावेश गरी बनाइएको योजना थन्किएको छ ।
गतवर्ष दोरम्बा शैलुङ गाउँपालिकाले दोरम्बा बजारमा सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन ३५ दिने सूचना जारी गर्‍यो । पालिकाको आग्रहलाई स्थानीयले अटेर मात्र गरेनन्, चुनौती नै दिएर अदालत गुहारे । वर्षौंदेखि भोगचलन गरिरहेको जमिनको लालपुर्जा माग गर्दै स्थानीयले पालिकाको उक्त आदेश खारेजीको माग गर्दै अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा अझै विचाराधीन रहेको स्थानीय ओमप्रकाश मोक्तानले बताए ।
दोरम्बा शैलुङ–२ का अध्यक्ष मेचमान योञ्जनले ऐतिहासिक दोरम्बा बजारलाई सुन्दर र नमुना बस्तीको रुपमा विकास गर्न पालिकाले समेत डीपीआर तयार गरेको छ । जसमा बजारको बीचमा २० मिटरको फराकिलो सडकको डिजाइन गरिएको छ । जबकि अहिले ८ मिटर चौडा मात्रै सडक छ । ‘हामीले कम्तीमा १६ मिटर सडक बनाउने गरी सहमतिको प्रयास गर्‍यौं । त्यसमा स्थानीयको सहमति रहेन,’ उनले भने, ‘१६ मिटरको सडक निर्माण गर्दा अहिले भएका मध्ये ४ वटा घर मात्र भत्किने अवस्थामा छन्, अरूलाई खासै असर पुग्दैन ।’
योञ्जनका अनुसार ३० वर्षअघि दोरम्बामा फाट्टफुट्ट मात्र घर थिए । विस्तारै चिहानडाँडा मासिँदै गयो । मोटर बाटोले जोडिएपछि पछिल्लो १० वर्षयता बजार विस्तार हुने क्रम ह्वात्तै बढेको हो । मानेडाँडामा अहिले २०/२२ वटा जति घर छन् । तर, स्थानीयले ६३ परिवारको बसोबास रहेको दाबी गर्दै लालपुर्जाको माग गरेका छन् । राष्ट्रिय भूमि आयोगको गठनपछि दोरम्बा बजारको जग्गाको स्वामित्व विवाद सुल्झाउने पहल भएको थियो । पालिका र स्थानीयबीचको विवाद किनारा नलाग्दै भूमि आयोगले दोरम्बाको जग्गाको पुर्जा अव्यवस्थित बसोबासीकै नाममा दिने तयारी गरेको छ । यो समस्या सुल्झाउन पालिका र वडास्तरमा सहजीकरण समिति गठन भई काम थालिएको आयोगका जिल्ला अध्यक्ष गौतमकुमार लामाले बताए ।

वाग्मती प्रदेश

सुरु भयो इन्द्रजात्रा

- कान्तिपुर संवाददाता

(काठमाडौं)
काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन शुक्रबार कुमारी घरबाट तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको छ । यस अवसरमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष र मन्त्रीहरूले वसन्तपुर दरबार क्षेत्र पुगेर जात्रा अवलोकन गरे ।
महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायत जनप्रतिनिधि र कर्मचारी पनि जात्रामा उपस्थित थिए । पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिन्चा आदिले पनि देवी–देवताको रथसँगै सहर परिक्रमा गरेका थिए । भाद्र शुक्लद्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिंगा ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।


शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत जिल्लामा धुमधामसाथ इन्द्रजात्रा मनाइन्छ । बुधबार महानगर प्रमुख शाहले इन्द्रजात्राको महत्त्वबारे चर्चा गर्दै यस जात्रालाई उपत्यका मात्रै नभएर विश्वव्यापी बनाउने बताएका थिए ।

वाग्मती प्रदेश

जीर्ण सडकमा जोखिमपूर्ण यात्रा

धादिङ (कास)– कालुपाण्डे मार्ग– अन्तर्गत धादिङबेसी–फुर्केखोलाको १८ किलोमिटर सडक ठाउँठाउँमा भासिएको छ । डेढ/दुई सय मिटरमा ठुल्ठूला घुम्ती रहेको सडक यतिबेला पहिरोको चपेटामा परेको छ ।
नीलकण्ठ नगरपालिका–८ दारेगौंडामा हरेक वर्षझैं यस वर्ष पनि सडक भास्सिएको हो । हरेक वर्ष वर्खामा सडक भासिने र माटोले पुरेर सञ्चालन गरिदै आएको स्थानीय अगुवा भरत ढुङ्गानाले बताए । ‘सडक भासिएर जोखिम बनेको हामी सबैलाई थाहा छ, दिनमा २/५ पटक ओहोरदोहोर गर्नु पर्छ, जोखिम मोलेरै हामी यात्रा गरिरहेका छौं,’ उनले भने ।
थोपल खोलाको किनारैमा जोडिएको कालुपाण्डे मार्ग हरेक वर्ष खोतल्लिएर जोखिम बन्दै गएको छ ।  यो मार्ग २०५७ सालमै कालोपत्र गरिएको थियो । लगातारको पहिरोले मर्मत नहुँदा स्थानीय सास्ती भोग्न बाध्य छन् ।
यसपालि प्राविधिक योजनाविनै लगाइएको जाली लगाए पनि सडकसँगै दबिएको छ । ‘तलैबाट भासिएको पहिले जानकारी भएको भए ग्याबिन जाली पनि तलैबाट लगाएर मर्मत गरिन्थ्यो,’ कालुपाण्डे मार्गका सुपरभाइजर अर्जुन सापकोटाले भने, ‘मर्मतको लागि टेन्डर भइसकेको छ अब छिट्टै काम सुरु गर्छौं ।’ दिगो व्यवस्थापनका लागि माटो परीक्षण गरी काम अघि बढाउनुपर्ने विज्ञ बताउँछन् । वैकल्पिक बाटो प्रयोग गर्दा सवारीसाधनले करिब २ किमि बढी दूरी पार गर्नुपर्छ ।

Page 7
अर्थ वाणिज्य

दुर्गमका जिल्ला सदरमुकाममा न्यून चामल, गाउँका डिपो रित्तै

प्रादेशिक कार्यालयबाट समयमै ढुवानी नहुँदा चाडबाडमा अभाव हुने चिन्ता
- राजु चौधरी
कान्तिपुर

(काठमाडौं)
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको ५ महिनामा गरिएका कामबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दिलेन्द्रप्रसाद बडूले दुर्गममा साविकको भन्दा खाद्यान्न ढुवानी कोटा बढाइएको बताए । खाद्यन्न आपूर्ति सहज बनाउन ढुवानी अनुदानलाई निरन्तरता दिइएको उनको भनाइ छ । ‘खाद्य सुरक्षा सुनिश्चित गर्न ढुवानी अनुदानलाई निरन्तरता दिएका छौं, दुर्गमका थप स्थानमा डिपो र भण्डारण क्षमता बढाइएको छ,’ मन्त्री बडूले भने, ‘खाद्य सुरक्षालाई सुनिश्चित गर्न साविकको १६ हजार ४ सय टनलाई बढाएर १८ हजार पुर्‍याइएको छ ।’
मन्त्री बडूले खाद्यान्न आपूर्ति सहज बनाउन अनुदान र कोटा बढाइएको बताइरहँदा चाडबाडकै बेला दुर्गम जिल्लावासीलाई खाद्यान्न जोहो गर्नै चिन्ता छ । दुर्गम क्षेत्रमा मुख्यतः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी गर्दै आएको छ । ढुवानीकै लागि सरकारले वार्षिक ४४ करोड रुपैयाँ अनुदान दिन्छ । तर, खाद्यले समयमै ढुवानी प्रक्रिया नगर्दा दुर्गमवासीले चाडबाडकै मुखमा अभाव भोग्नुपरेको छ ।
घटस्थापना आउन करिब दुई साता बाँकी हुँदा दुर्गमका धेरैजसो खाद्य डिपोमा चामल छैन । सदरमुकाममा केही परिमाणमा भए पनि गाउँका डिपो रित्तै छन् । ‘सबैभन्दा नाजुक अवस्था हुम्लामा छ । शाखा कार्यालय/सदरमुकाममा केही परिमाणमा चामल भए पनि दुईवटा डिपो र पाँचवटा बिक्री केन्द्रमा चामल छैन,’ हुम्ला शाखाका एक कर्मचारीले भने, ‘साउनमा एक पटक वितरण गर्‍यौं, त्यसपछि चामल नै छैन ।’ चाडबाडका लागि केन्द्रसँग मागे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
हुम्ला शाखा कार्यालय प्रमुख कृष्ण अधिकारीको भनाइ पनि उस्तै छ । सदरमुकाममा करिब १६ सय क्विन्टल चामल मौज्दात रहेको उनको भनाइ छ । त्यो चामल ३ गाउँपालिकाका लागि हो । सर्केगाड, देउसी, श्रीनगर, छप्रेला, तुम्च वालकुना र खार्पुनाथ याङ्चु बिक्री केन्द्रमा चामल नभएको अधिकारीले बताए । ‘सदरमुकामबाहेक अन्यत्रका सबै डिपो र बिक्री केन्द्र खाली छन्, चामल छैन । यी डिपोका लागि प्रादेशिक कार्यालय सुर्खेत र मुख्य शाखा कार्यालय नेपालगन्जबाट चामल चलानी हुनुपर्ने हो । तर ढुवानीका लागि बोलपत्र आशय स्वीकृत भइसकेको छैन,’ उनले भने, ‘दसैंअगाडि ढुवानीको सम्भावना कमै छ, सक्दो छिटो ढुवानीको माग गरिरहेका छौं ।’ यता केन्द्रले भने हुम्ला शाखा कार्यालयमा १ हजार ८ सय २७ क्विन्टल मौज्दात रहेको दाबी गरेको छ ।


हुल्लामा करिब ६० हजार सर्वसाधारणको बसोबास छ । यहाँ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल ढुवानी गर्दै आएको छ । तर, कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबोल गर्नेलाई जिम्मा दिन खोज्दा विवादमा पर्ने गरेको छ । यसले गर्दा पनि समयमै चामल ढुवानी हुन सकेको छैन । गत वर्ष पनि खाद्यले हवाईमार्गबाट हुम्लामा १० हजार क्विन्टल चामल पठाउन सिलबन्दी बोलपत्र आह्वान गरेपछि ४ कम्पनीले आवेदन दिएका थिए । तर, किलोमै ४२ रुपैयाँ महँगो कबुल्नेलाई ढुवानी अनुमति दिन खोज्दा विवाद भएको थियो । खाद्यका अनुसार गत वर्ष ३ लाख ८ हजार क्विन्टल ढुवानी गर्ने लक्ष्य लिइएकामा ७७.७१ प्रतिशत अर्थात् २ लाख ३९ हजार ३ सय ५८ क्विन्टल मात्रै ढुवानी भएको थियो । यसमध्ये खाद्यले कर्णाली र दुर्गम क्षेत्रमा १ लाख ८० हजार क्विन्टल ढुवानीको लक्ष्य राखेकामा १ लाख ६७ हजार ८ सय १ क्विन्टल मात्रै ढुवानी गरेको थियो, जसले गर्दा अभाव भएको हो ।
कालीकोटमा पनि चामलको अभाव नै रहेको जानकारहरू बताउँछन् । सदरमुकाममा ७ सय क्विन्टल चामल रहेको कालीकोट शाखा कार्यालय प्रमुख कमलराज पाण्डेले जनाए । तर डिपोहरूमा पर्याप्त चामल छैन । ‘यस क्षेत्रमा ४ डिपो र एउटा शाखा कार्यालय छ । चाडबाडका लागि करिब ४ हजार क्विन्टल चामल चाहिन्छ, मागको तुलनामा मौज्दात न्यून छ,’ पाण्डेले भने । केन्द्रले भने कालीकोट सदरमुकाममा १ हजार ६१ क्विन्टल चामल मौज्दात रहेको दाबी गरेको छ ।
मुगुमा गत वर्षकै ६ सय क्विन्टल चामल छ । नयाँ आर्थिक वर्षको नयाँ ठेक्का भने स्वीकृत भइनसकेको मुगु शाखा कार्यालय प्रमुख पुष्कर भामको भनाइ छ । ‘मुख्य शाखा कार्यालय नेपालगन्जबाट १ सय ७० क्विन्टल लोड भएको छ । तर त्यो पर्याप्त होइन,’ उनले भने, ‘दसैंतिहारका लागि एक हजारदेखि १ हजार २ सय क्विन्टल चामल चाहिन्छ । चामल माग गरिरहेका छौं । तर ढुवानी भइसकेको छैन ।’ भामका अनुसार जिल्ला खाद्य व्यवस्था समितिको भदौ २ को बैठकले तत्काल चामल माग गर्ने निर्णय गरिसकेको छ । रोल्पाका शाखा कार्यालय प्रमुख बुद्धिराम चौधरीले पनि बिक्री केन्द्रमा ४ सय क्विन्टल मात्रै चामल रहेको जनाए । उक्त परिमाण चाडबाडका लागि पर्याप्त नभएको उनले बताए ।
बझाङमा सय क्विन्टल चामल मौज्दात रहेको बझाङ शाखा कार्यालय प्रमुख ईश्वरीदत्त पाण्डेको भनाइ छ । खाद्य कम्पनीको चामलभन्दा स्थानीय बजारमा सस्तोमा पाइने हुँदा यहाँ अभाव नहुने उनको भनाइ छ । खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने भने दुर्गमका लागि १८ हजार क्विन्टल चामल मौज्दात रहेकाले त्यही कोटाभित्र रहेर ढुवानी गरिने बताउँछिन् । ‘दुर्गममा साढे ३ हजार टन चामल ढुवानी भएको छ । बिक्री हुँदै गर्दा कम हुनेबित्तिकै खाद्यान्न पठाउँछौं,’ उनले भनिन्, ‘तराईमा भने मौज्दात राम्रो छ, अभाव हुन दिँदैनौं ।’

अर्थ वाणिज्य

भारतले कर बढाउँदा झन् महँगो

- शंकर आचार्य,भूषण यादव

(पर्सा), (वीरगन्ज)
भारतले धान र चामल निर्यातमा कडा नीति अपनाएको छ । उसले धान/चामल निर्यातमा २० प्रतिशत कर र कनिका निर्यातमा भने पूर्ण प्रतिबन्ध नै लगाएको हो । बासमती र उसिनाबाहेक अरू चामल निर्यातमा भारतले शुक्रबारदेखि नै २० प्रतिशत कर लगाउन थालेको हो । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजस्व विभागले धान र चामल निर्यातमा कर लगाएको हो । प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने जनाउँदै खाद्य मन्त्रालयले निर्यात कम गर्ने लक्ष्यस्वरूप २० प्रतिशत कर थपेको बताइएको छ ।
पश्चिम बंगाल, उत्तरप्रदेशसहित केही राज्यमा वर्षा कमी भएपछि धान उत्पादनमा समेत कमी आउने भारतीय खाद्य मन्त्रालयको प्रक्षेपण छ । खडेरीकै कारण भारतभर यस वर्ष ८० लाखदेखि १ करोड टन धान उत्पादन घट्ने अनुमान छ । विश्वमा धान उत्पादनमा चीनपछि भारत दोस्रो ठूलो मुलुक हो ।
भारतले कर लगाएसँगै नेपालमा पनि चामल महँगिने भएको छ । नेपालमा खपत हुने चामल अधिकांश भारतीय उत्पादन हो । नेपालले वार्षिक करिब ५० अर्बको धान र चामल आयात गर्ने गरेको छ । गत आर्थिक वर्षमा भारतबाट मात्रै कुल ४७ अर्ब ३५ करोड रुपैयाँको धान र चामल आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा कुल आयात हुने वस्तुमा रकमका आधारमा धान र चामलको हिस्सा मात्रै २.५ प्रतिशत छ । यसले समग्र महँगी बढाउने उद्योगी व्यवसायीको भनाइ छ ।
भारत सरकारले शून्यबाट एकैपटक २० प्रतिशत भन्सार महसुल वृद्धि गर्नुले नेपालमा दूरगामी असर पर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् चामल, दाल, तेल उत्पादक संघका राष्ट्रिय अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘भारतको यस निर्णयले दसैं, तिहार र छठ जस्ता पर्वका बेला चामलको मूल्य २० प्रतिशतले बढ्ने निश्चित छ,’ वीरगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसले नेपालमा महँगीसँगै भोकमरीको अवस्थासमेत आउन सक्छ ।’
यहाँको सरकारले सक्दो छिटो भारत सरकारसँग समन्वय गरी नेपालका लागि निर्यात हुने धान र चामलमा कर नलाग्ने व्यवस्था गराउनुपर्नेमा गुप्ताले जोड दिए । यसबारे आफूहरूले प्रधानमन्त्री, अर्थमन्त्री तथा भारतीय दूतावासका प्रतिनिधिलाई समेत भेटेरै आग्रह गर्ने तयारी रहेको उनले बताए । भारतले कनिका निर्यातमा समेत पूर्ण प्रतिबन्ध लगाएकाले स्वदेशी बियर, रक्सी तथा दाना उद्योगसमेत प्रभावित हुने भएका छन् । ‘बियर, रक्सी र दाना उत्पादन गर्ने उद्योगले कनिका तथा धानको भुस आयात गर्छन्, भारतले कनिका र भुस आयातमा प्रतिबन्ध लगाएकाले स्वदेशी यी उद्योगमा समेत नकारात्मक प्रभाव पार्छ,’ उनले भने ।
भारतले धान, चामलमा एकैपटक २० प्रतिशत भन्सारमा कर कायम गर्दा नेपालमा सञ्चालित चामल मिल बन्द हुने अवस्थामा पुग्ने र आमउपभोक्ता थप महँगीको मारमा पर्ने उनले बताए । गत आर्थिक वर्षमा मात्रै भारतबाट ५ लाख ५० हजार टन धान, ५ लाख २० हजार टन चामल र ५० हजार टन कनिका आयात भएको गुप्ताले जानकारी दिए । नेपालमा हाल बर्सेनि १८ लाख टन चामलको खपत रहेकामा १० लाख टन स्वदेशी उत्पादनले धान्ने गरेको छ भने बाँकी चामलका लागि भारतमाथि निर्भर छ ।

अर्थ वाणिज्य

सय हाराहारी देशले तयार पार्दै छन् डिजिटल मुद्रा

पहिलो चरणमा ४ वटा बैंकमार्फत डिजिटल करेन्सी कारोबारको परीक्षण गर्दै भारत

काठमाडौं (कास)– निकट भविष्यमा भुक्तानी प्रणालीको दक्षता र सुरक्षामा सुधारका लागि ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी) सञ्चालनमा ल्याउन सकिने बहस विश्वभर चलिरहेको छ । वित्तीय कारोबारमा डिजिटल मुद्राको प्रयोग गर्न सकिने वा नसकिनेबारे केन्द्रीय बैंक र नियामकहरूले अध्ययन गरिरहेका छन् । उनीहरू विश्वभर सीबीडीसी कार्यान्वयनका लागि एउटा निश्चित फ्रेमवर्क तयार पारेर जानुपर्नेमा सहमत छन् ताकि मुद्रा कारोबारको प्रविधि, ढाँचा र बजारका अभ्यासमा एकरूपता कायम गर्न सकियोस् र त्यसलाई समयानुकूल परिवर्तनसमेत गर्दै लैजान सकियोस् ।
अहिले सय हाराहारी देश विद्युतीय मुद्रा निर्माणको विभिन्न चरणमा रहेको विवरण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको छ । हालसम्म दुई देशले डिजिटल मुद्रा पूर्ण रूपमा जारी नै गरिसकेका छन् । क्यारेबियन टापु बहामस भर्चुअल करेन्सी प्रयोगमा ल्याउने विश्वको पहिलो मुलुक हो । उसले २०२० अक्टोबरमा ‘बहामियन सान्ड डलर’ नामको डिजिटल मुद्रा कारोबारमा ल्याएको थियो । त्यसयता नाइजेरियाले पनि २०२१ अक्टोबरमा ‘इनाइरा’ नामको विद्युतीय मुद्रा सार्वजनिक गरिसकेको छ ।
आईएमएफका अनुसार सन् २०१८ को जुलाईसम्ममा एउटा मात्रै मुलुकले डिजिटल मुद्राको कारोबार परीक्षण गरिरहेको थियो भने १८ मुलुक त्यसबारे अध्ययन गरिरहेका थिए । तर, २०२२ जुलाईसम्ममा आइपुग्दा दुई मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेका छन् । १५ मुलुकले १५ परीक्षण गरिरहेका छन् भने थप १५ मुलुकले ‘प्रुप अफ कन्सेप्ट’ तयार पारिसकेका छन् । ६५ देशमा यो अध्ययन अनुसन्धानकै क्रममा छ । यसरी कुल ९७ मुलुकमा डिजिटल मुद्राबारे विभिन्न कार्य भइरहेका छन् । ‘पैसाको भविष्य निःसन्देश डिजिटल हो । तर प्रश्न यो कस्तो देखिन्छ र प्रयोगमा कसरी आउँछ भन्ने मूल प्रश्न हो,’ अन्तर्राष्ट्रिय मुद्रा कोषको त्रैमासिक प्रकाशन ‘फाइनान्स एन्ड डेभलपमेन्ट–२०२२’ सेप्टेम्बर अंकमा सम्पादक गीता भट्टले लेखेकी छन्, ‘अर्कोतर्फ यो जटिल र राजनीतिक रूपमा जकडिएको प्रश्न हो ।’
भारतले पनि डिजिटल मुद्रा प्रचलनमा ल्याउने तयारी गरिरहेको छ । भारतीय रिजर्भ बैंकले यसै साताबाट स्टेट बैंक अफ इन्डिया, पन्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र बैंक अफ बरोडामार्फत डिजिटल करेन्सी परीक्षण सुरु गरिसकेको इन्डिया टाइम्सले उल्लेख गरेको छ । रिजर्भ बैंक ऐन १९३४ संशोधन गर्दै डिजिटल करेन्सीको कारोबारका लागि स्वीकृतिसमेत दिइसकेको छ । डिजिटल करेन्सीको अफलाइन भुक्तानी, प्रोग्रामिङमा आधारित भुक्तानी, अन्तरबैंक भुक्तानी तथा अन्तरदेशीय भुक्तानीका लागि समेत ब्लकचेनमा आधातिर मुद्रा तयार पार्न प्रविधि कम्पनीहरूलाई आह्वानसमेत गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बजेट वक्तव्यमार्फत सन् २०२२ भित्रै डिजिटल करेन्सी ल्याउने प्रयोगमा ल्याउने बताएकी थिइन् । क्रिप्टोकरेन्सीको व्यापार तथा ब्लकचेनमा आधारित नन फन्जिबल टोकन्स (एनए) जस्ता सम्पत्तिको कारोबारमा डिजिटल करेन्सी प्रयोग गरिनेछ । क्रिप्टोकरेन्सीको कारोबारमा रोक लगाएको चीनले पनि आफ्नो छुट्टै भर्चुअल मुद्रा तयार पारिरहेको छ । चाइना फाइनान्सियल एसोसिएसनका अनुसार पिपुल्स बैंक अफ चाइनाअन्तर्गतको डिजिटल करेन्सी इन्स्टिच्युटले ई–सीएनवाई सार्वजनिक गरिसकेको छ । विभिन्न २३ सहरमा यो करेन्सी प्रचलनमा समेत ल्याइसकेको छ ।
स्वतन्त्र मुद्राका रूपमा क्रिप्टोकरेन्सी प्रचलनमा आएपछि समान प्रकृतिका मुद्रा ल्याउनुपर्नेतर्फ केन्द्रीय बैंकहरूको ध्यान गएको हो । केन्द्रीय बैंकबाट जारी गरिने यस्ता मुद्रा डिजिटल सम्पत्तिका रूपमा रहनुपर्ने धारणाहरूसमेत आइरहेका छन् । सिंगापुरको केन्द्रीय बैंक तथा वित्तीय नियामक ‘द मनिटरी अथोरिटी अफ सिंगापुर’ (मास) ले अहिले ‘डिजिटल एसेट इकोसिस्टोम’ तयार पार्न सकिने विकल्पबारे अध्ययन गरिरहेको छ । त्यस्तो सम्पत्तिको स्वामित्व डिजिटल र कम्प्युटरकृत शैलीमा देखाउन सकिने गरी प्रणाली तयार पार्न सकिनेमा उसको अध्ययन केन्द्रित छ । मासले तयार पारिरहेको डिजिटल एसेट इकोसिस्टममा मुख्य गरी ३ वटा फिचर ‘टोकनाइजेसन, ब्लकचेन र क्रिप्टोग्राफी’ रहनेछन् ।
सन् १९९३ मा बैंक अफ फिनल्यान्डले नगदको विद्युतीय विकल्पका रूपमा ‘अभन्ट स्मार्ट कार्ड’ जारी गरेको थियो, जसलाई विश्वको पहिलो विद्युतीय मुद्राका रूपमा लिइन्छ । तर त्यसको प्रभावकारिता लामो समय भने देखिएन । ‘प्राइभेट करेन्सी’ का रूपमा क्रिप्टो कारोबार सुरु भएपछि भने विश्वभरका निकाय र केन्द्रीय बैंकहरूले सीबीडीसीको आवश्यकता महसुस गरेका हुन् । सीबीडीसीले वित्तीय समावेशीकरण (फाइनान्सियल इन्क्लुजन) लाई प्रवर्द्धन गर्ने, कारोबारको लागत घटाउने र पैसा परिचालनमा पारदर्शिता हुने ठानिएको छ । त्यसैगरी, आन्तरिक र अन्तरदेशीय भुक्तानी कारोबारका लागि यो निकै सजिलो हुनेछ । बैंक वित्तीय संस्थासँगको कारोबारमा लाग्दै आएको शुल्कलाई यसले घटाइदिन्छ । यद्यपि, धेरैजसो देशले यस्ता मुद्राको प्रयोग आवश्यक छ वा छैन भन्ने पहिचान अध्ययन गरिरहेका छन् ।
डिजिटल मुद्राको प्रयोगले विकेन्द्रित वित्त अर्थात् डिसेन्ट्रलाइज्ड फाइनान्स (डेफी) लाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ठानिएको छ । डेफीले परम्परागत मौद्रिक प्रणालीलाई प्रतिस्थापन गर्न सक्छ । किनकि, बैंक, ब्रोकरहरूको भूमिका घट्छ । भुक्तानी प्रणाली सञ्चालन गरिरहेका संस्था शक्तिशाली हुन सक्ने अवस्था रहन्छ । डिजिटल मुद्रा कार्यान्वयन गर्दा केन्द्रीय बैंकहरूका लागि सबैभन्दा ठूलो चुनौती भनेको साइबर सुरक्षाको हो । ‘डाटा प्राइभेसी’ का मामिलामा यो निकै संवेदनशील हुन्छ । अर्को भने डिजिटल मुद्रा किन्न उपभोक्ताले एकै पटक धेरै रकम झिक्न सक्छन् । यसले पनि केन्द्रीय बैंकलाई समस्यामा पार्न सक्छ । यस्तो मुद्राको कारोबार दिगो र सुरक्षित हुनुपर्‍यो । सँगसँगै प्रयोगकर्ताहरूलाई आफ्नो डाटामाथि नियन्त्रण हुनुपर्छ । तर त्यसबाट हुन सक्ने दुरुपयोग र धोखाधडीका कारण यसलाई चुनौतीपूर्ण मानिएको छ ।

Page 8
समाचार

पहाडमा फैलिँदै डेंगु

तराईका जिल्लामा धेरै फैलिने डेंगु संक्रमण पछिल्लो समय पहाडसम्म पुगेको छ । लुम्बिनी प्रदेशका गुल्मी, रूकुम पूर्व, अर्घाखाँची, रोल्पा र प्यूठानमा संक्रमित बढिरहेका छन् ।
- सन्जु पौडेल,जे पाण्डे
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुको उपचार गराइरहेका संक्रमित । तस्बिर : इलिट जोशी/कान्तिपुर

(लुम्बिनी) र (नेपालगन्ज)
ज्वरो आउने, टाउको दुख्ने भएपछि रुकुम पूर्वका ५९ वर्षीय सेतानन्द जैसी चार दिनपछि जिल्ला अस्पताल पुगे । परीक्षणबाट डेंगु संक्रमण पुष्टि भयो । दुई रात तीन दिनको अस्पताल बसाइपछि घर फर्किएका उनलाई अहिले पनि हिँडडुल गर्दा रिंगटा लाग्छ । ‘यसले ज्यान धेरै दुख्ने रहेछ,’ उनले भने, ‘शरीर निकै गलाएको छ ।’
गुल्मीको रेसुंगा–५ का सुदीप ढकाल पनि बेड रेस्टमा छन् । डेंगु संक्रमणपछि उनलाई १ सय ४ डिग्रीसम्म जरो आयो । अहिले पनि सहज तरिकाले बस्न नसकेकाले बिस्तरामा पल्टिएर दिन बिताउने गरेको उनले सुनाए ।
यसअघि तराईका जिल्लामा धेरै फैलिने डेंगु संक्रमण पछिल्लो समय पहाडसम्म पुगेको छ । लुम्बिनी प्रदेशका गुल्मी, रुकुम पूर्व, अर्घाखाँची, रोल्पा र प्यूठानमा डेंगुका बिरामी बढिरहेका छन् । यहाँस्थित स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशका १२ वटै जिल्लामा डेंगुका बिरामी छन् । पछिल्लो ६ महिनाको तथ्यांकअनुसार पहाडी जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै ५८ जनामा डेंगु संक्रमण देखिएको छ । अर्घाखाँचीमा २५ जना संक्रमित फेला परेको तथ्यांक अधिकृत मानबहादुर वलीले बताए । गुल्मीमा ६ महिनामा १७ जना बिरामी परे भने रोल्पा, रुकुम पूर्व र प्यूठानमा महिनामा सरदर तीन जनासम्म बिरामी भेटिएका छन् ।
पहाडी तथा हिमाली जिल्लामा पनि लामखुट्टे रहेकाले डेंगुको जोखिम बढेको रुकुम पूर्व अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पूर्णबहादुर पुनले बताए । उनका अनुसार अस्पतालमा प्रतिदिन २० जनासम्म डेंगुका लक्षण भएका बिरामी आउने गरेका छन् । ‘हामीसँग डेंगु किट अभाव छ,’ उनले भने, ‘सयवटा आएका किट सबै सकिए, अहिले लक्षणका आधारमा सामान्य औषधि दिएर घर पठाउने काम भइरहेको छ ।’ गम्भीर खाले बिरामी भने उपचारका लागि बुटवलसम्म पुग्ने गरेका छन् ।
किट पर्याप्त भएर जाँच्ने हो भने पहाड र तराई जताततै डेंगु देखिने डा. प्रकाश श्रेष्ठ बताउँछन् । ‘यहाँ रुघा, ज्वरो सामान्य भए जाँच नै हुँदैन,’ उनले भने, ‘८५ प्रतिशत बिरामीमा लक्षण गम्भीर नहुनाले डेंगु भए/नभएको वास्ता नभएको हो ।’ बिरामीको ट्राभल हिस्ट्री हेर्दा गाडीमा यात्रा गर्दागर्दै डेंगु लागेर जचाउन आएको समेत भेटेको उनले बताए । ‘पहाडी बस्तीका मानिस तराई पुगेर फर्कंदा डेंगुको पहिलो भाइरसले छोइसकेको हुन्छ,’ उनले भने, ‘त्यसैले नयाँ मानिसलाई संक्रमण गराउन समय धेरै लाग्दैन ।’ लुम्बिनी प्रदेशका तराईका जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै ६ सय ९९ जना डेंगु संक्रमित छन् । लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भीम अस्पताललगायतमा डेंगुका बिरामी उपचाररत छन् । त्यस्तै, बाँके, बर्दिया, दाङमा २० देखि २६ जनासम्म बिरामीलाई डेंगु भएको तथ्यांकमा उल्लेख छ । कपिलवस्तु, पश्चिम नवलपरासीमा भने सबैभन्दा कम ३ देखि ६ जनामा मात्र डेंगु पुष्टि भएको छ ।

कर्णाली र सुदूरमा पनि
डेंगु संक्रमणपछि भेरी उपचारार्थ अस्पताल भर्ना भएका बिरामीमध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिका छन् । भदौ १४ गते र १९ गते भर्ना भएका उनीहरूको बुधबार केही समयको अन्तरमा मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईंले बताए । त्यसअघि निःसर्ग अस्पतालमा पनि ३५ वर्षीया एक महिलाको मृत्यु भएको थियो । कैलालीको लम्की चुहामा मात्रै २५ जनामा संक्रमण देखिएको छ ।
भेरी अस्पतालमा डोटीकी ५५ वर्षीया महिलाको उपचार भइरहेको छ । चिकित्सकहरूले ती महिलामा रगतको कमी भए पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएका छन् । डेंगुका कारण पश्चिम तराईमा मृत्यु र संक्रमित हुनेको संख्या थपिदै गएपछि संक्रमणले महामारीको रूप लिन सक्ने खतरा बढेको छ । लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भेरी अस्पतालमा डेंगु संक्रमितहरू आउने गरेका छन् । ज्वरोले थलिएर सिकिस्त भएपछि मात्रै अस्पताल आउनेहरू बढी जोखिममा पर्ने गरेको चिकित्सक बताउँछन् । यस्तै अवस्थाका बिरामीमध्ये बर्दियाका एक र कैलालीका दुईसमेत तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ देखि ८५ वर्ष उमेरसम्मका छन् ।
सुदूरपश्चिको पहाडी जिल्ला डोटीबाट समेत बिरामी आउनुले संक्रमण तराईदेखि पहाडी क्षेत्रसम्म फैलिएको पुष्टि हुन्छ । चिकित्सकले डेंगुका कतिपय बिरामीमा रगतको कमी हुने गरेको बताएका छन् । उपचार गराउन आएका बिरामीका आफन्तले पहाडी तथा ग्रामीण क्षेत्रमा धेरै जना ज्वरो आएर थलिएको तर स्वास्थ्य परीक्षण गर्न अस्पताल नगएको बताए । ‘गाउँमा धेरैलाई ज्वरो आएको छ तर सबै घरमै बसेका छन्,’ शिखर नगरपालिका–११ का बहादुर बोहराले भने, ‘गाउँमा धेरै जना थलिएका छन् । सबैमा डेंगुको जस्तै लक्षण देखिएको छ ।’
धेरै स्थानमा डेंगु सार्ने एडिस एजिप्टी जातका लामखुट्टे र त्यसका लार्भासमेत देखिएकाले संक्रमण अझै बढ्न सक्ने चेतावनी दिँदै स्वास्थ्यकर्मीले सावधानी अपनाउन अपिल गरेका छन् । ‘झुलको प्रयोग गर्ने, टिनका डब्बा, प्लास्टिकका बोतल, टायर, सिसी, ड्रममा जमेको पानी फालेर लामखुट्टेको बासस्थान नष्ट गरे जोगिन सकिन्छ,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चापागाईंले भने, ‘एडिस एजिप्टी जातको लामखुट्टेले दिउँसो वा उज्यालो समयमा टोक्दा डेंगु हुने भएकाले जोगिन सकिने उत्तम उपाए सावधानी नै हो ।’ भारत आउजाउका लागि घुइँचो लाग्ने नेपालगन्जको बसपार्क क्षेत्र डेंगु संक्रमणको उच्च जोखिममा छ । स्वास्थ्यकर्मीले डेंगु सार्ने जातको लामखुट्टे र त्यसका लार्भासमेत देखिएपछि बसपार्कसहित नेपालगन्ज–४ लाई खतराको सूचीमा राखेका छन् ।
डेढ लाखभन्दा बढी बासिन्दा रहेको नेपालगन्जको अति व्यस्त क्षेत्र गणेशपुरसहित उपमहानगरपालिकामा चार जनामा डेंगु देखिएको छ । गणेशपुरमा कतै नगएका व्यक्तिमा संक्रमण पुष्टि भएपछि क्रमिक रूपले सबैतिर संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्यकर्मीसहितको टोलीले बसपार्कको सीमित क्षेत्रमा लामखुट्टे बस्ने ठाउँ नष्ट गरे पनि उक्त अभियानमा स्थानीयवासीको सक्रियता भने देखिएन । बाँकेमा बिहीबारसम्म १२ जनामा डेंगु देखिएको छ, तीमध्ये तीन जना बर्दियाका हुन् । रोग पहिचानका लागि दुर्गम भेकका अस्पताल तथा स्वास्थ्य केन्द्रमा किट अभाव छ ।

समाचार

७ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि हरेक शनिबार बिहान १० बजे १० मिनेट अभियान चलाउने
- अतुल मिश्र

(काठमाडौं)
हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट हालसम्म सात जनाले ज्यान गुमाएका छन् । तर, स्वास्थ्य सेवा विभागले भने दुई जनाको मृत्युलाई मात्र रेकर्डमा राखेको छ ।
‘दुई जनाको मृत्यु भएको जानकारी हाम्रो रिपोर्टिङ सिस्टममा आइसकेको छ, थप मृत्युबारे अद्यावधिक गर्नेछौं,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले भने । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार कैलाली र ललितपुरमा एक–एक जनाको मृत्यु पुष्टि भएको हो ।
ईडीसीडीकै एक विज्ञले भने डेंगुबाट सात जनाको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ६ महिला र १ पुरुष छन् । नेपाल मेडिसिटी अस्पतालमा ३८ वर्षीय पुरुष र ५९ वर्षीया महिला, भेरीमा १२ वर्षीया महिला, नेपालगन्ज मेडिकल कलेजमा २५ र ६० वर्षका महिला, सिभिलमा ४४ वर्षीया महिला र वीर अस्पतालमा ८० वर्षीया महिलाको मृत्यु भएको हो । गत साउनदेखि हालसम्म ६ हजार ७ सय ७ डेंगुको केस देखिएको छ ।
स्वास्थ्य विज्ञहरूले उपत्यकाको ललितपुर र काठमाडौंसहित १५ जिल्लामा संक्रमण महामारीतर्फ विस्तार भइरहेको चेतावनी दिएका छन् । सबैभन्दा बढी संक्रमण ललितपुर, काठमाडौं, रूपन्देही र मकवानपुरमा देखिएको छ । ‘हामी महामारीलाई परिभाषित गर्ने चरणमा छौं । वैज्ञानिक रूपमा भन्नुपर्ने हुँदा यसबारे विश्लेषण भइरहेको छ,’ डा.दासले भने । सन् २०१९ मा १७ हजार ९ सय ९२ केस देखिएकामा ६ जनाको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सातायता डेंगु क्लिनिक नै सञ्चालनमा छ । क्लिनिकमा लक्षण लिएर दैनिक आउने करिब दुई सयमध्ये परीक्षण गराउँदा ९० प्रतिशतमा डेंगु देखिएको डा. राजेश साहले बताए ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले हरेक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहे/नरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरेको छ । ‘सातामा एक पटक सबैले एक समय घरभित्र र बाहिर डेंगुको लार्भा खोजबिन गरी नष्ट गर्दा संक्रमणको कडी तोडिनेछ,’ मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले भने, ‘सफा स्थिर पानीमा पार्ने फुलबाट बनेको लामखुट्टेको लार्भा ७ दिनमा वयस्क हुने भएकाले हरेक साता उक्त चेन ब्रेक हुनुपर्छ ।’

Page 9
खेलकुद

क्रिकेट प्रेम देखेर मक्ख ब्रेट ली

अस्ट्रेलियाली क्रिकेट इतिहासका बेजोड तीव्र गतिका बलर ब्रेट लीले भने– साँच्चै नेपालमा क्रिकेटप्रतिको माया गजब रहेछ
- हिमेश
राजधानीमा आयोजित कार्यक्रममा नेपाल टी–२० लिगका मेन्टर अस्ट्रेलियन महान क्रिकेटर ब्रेट ली । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं)
टेस्ट मान्यताप्राप्त देश नै किन नहोस्, केही देशमा क्रिकेट त्यति लोकप्रिय छैन, जति नेपालमा छ । क्रिकेट खेल्ने र हेर्ने क्रममा ब्रेट लीले अनेक देश घुमे । यिनै ली दुई दिन नेपालमा रहे शुक्रबारसम्म । अस्ट्रेलियाली क्रिकेट इतिहासमा बेजोड तीव्र गतिका बलर रहेका यी पूर्व खेलाडीको छोटो बसाइमै अनुभव हो, साँच्चै नेपालमा क्रिकेटप्रतिको माया गजब रहेछ । मक्खै देखिएका ली अब चाँडै सुरु हुन लागेको नेपाल टी–२० लिगसँग जोडिएका छन् ।
उनी हुनेछन् प्रतियोगिताका ‘मेन्टर’ । त्यसको अर्थ उनी प्रतियोगितामा कुनै न कुनै रूपमा लगातार जोडिनेछन् । अचेल ट्वान्टी–२० क्रिकेटमा यो ‘मेन्टर’ शब्द खुबै लोकप्रिय छ । ‘मेन्टर’ को भूमिका लगभग प्रशिक्षकसँग मिल्छ । धेरै अर्थमा फरक पनि छ । ‘मेन्टर’ को खास काम हो, टिमलाई उत्साहित राख्ने, खेलाडीलाई राम्रो खेल्न प्रेरित गर्ने । यी लीले ‘मेन्टर’ का रूपमा सिंगै नेपाल टी–२० लाई जीवन्त राख्न मदत गर्नेछन् ।
त्यसो त उनको भ्रमण दुई दिनकै मात्र रह्यो । प्रतियोगिताका क्रममा उनी नेपालमा रहने छैनन् । तर, अहिलेको समय प्रविधिको न हो, उनी अनलाइनको माध्यममा प्रतियोगिताका व्यवस्थापक, प्रशिक्षक र खेलाडीसँग सम्पर्कमा रहनेछन् । यी सबैलाई उनले आफ्नो अनुभव सुनाउने छन् । तय छ, यी बहुमूल्य रहनेछन् नै । शुक्रबार उनी नेपाली मिडियासामु प्रस्तुत भए । उनको पहिलो भनाइ नै रह्यो, नेपालमा क्रिकेटप्रतिको जुन माया छ, त्यसैले यो खेललाई अर्को स्तरमा पुर्‍याउने छ ।
लीले भने, ‘मैले सिधा सिधा नेपालमा क्रिकेटप्रतिको माया देखें । मैले धेरै देश घुमेको छु । भारतमै पनि मैले लामो समय बिताएको छु । अस्ट्रेलिया ते मेरै देश भयो । नेपालमा मैले जुन प्रकारको क्रिकेटप्रतिको लगाव देखें, यो अर्कै स्तरको छ । यसले नेपालको क्रिकेट अझ अगाडि बढ्ने छ, पछाडि होइन ।’ उनले अस्ट्रेलियाका लागि टेस्ट खेले, वान डे पनि खेले । क्रिकेटको कान्छो स्वरूप ट्वान्टी–२० क्रिकेट पनि खेले । विश्व क्रिकेटलाई लिएर उनमा अनुभवको कुनै कमी रहेन ।
नेपालमा क्रिकेटको भविष्यलाई लिएर पनि उनी उत्तिकै आशावादी छन् । उनले भने, ‘पछिल्लो समय नेपाली क्रिकेटले जुन विकास गरेको छ, त्यो राम्रो छ । यो प्रगति अहिलेको मात्र होइन, ५–६ वर्षयताको हो । यही क्रिकेटसँग जोडिन पाउँदा म खुसी हुने नै भएँ ।’ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग सेप्टेम्बर २४ देखि अक्टोबर २० सम्म काठमाडौंमा हुँदै छ । यसमा भिड्ने छन् ६ टिम ।
उनले अस्ट्रेलियाका लागि ७६ टेस्ट खेले । यसमा लिए ३ सय १० विकेट । सायद उनी बढी एकदिवसीय बलर थिए, उनको समयमा एकदिवसीय क्रिकेटको जगजगी थियो । उनले २ सय २१ एकदिवसीय खेले । यसमा उनले लिएको विकेट संख्या रह्यो ३ सय ८० विकेट । सन् २००३ को एकदिवसीय विश्वकप अस्ट्रेलियाले जित्दा उनी एक महत्त्वपूर्ण सदस्य थिए । आफ्नो खेलजीवनको अन्त्यतिर उनले इन्डियन प्रिमियर लिग र बिगबास दुवै खेले । सन् २०१५ मा उनले सबै खाले क्रिकेटबाट संन्यास लिए ।


लीका प्राविधिक मन्त्र
लीको यो पहिलो नेपाल भ्रमण पनि हो । भलै, उनले नेपाली क्रिकेटबारे धेरै सुनेका छन् । नेपालका पूर्वखेलाडी विनोद दासबारे पनि उनले उत्तिकै सुनेका रहेछन् । उनी थप्छन्, ‘पहिलोपल्ट नेपाल आउँदा नै मैले जुन प्रकारको न्यायो माया र आतिथ्यता पाएँ, यो कम्ती रहेन ।’ उनी यिनै भावनात्मक कुरामा मात्र अल्झिरहेनन् । उनले केही प्राविधिक कुरा पनि मजाले गरे । जस्तो, पहिलो प्रश्न नेपाली क्रिकेटका लागि कुन महत्त्वपूर्ण हुन्छ, लामो दिन चल्ने क्रिकेट, एक दिनको क्रिकेट कि ट्वान्टी–२० ?
उनी मान्छन्, तीनै विधा उत्तिकै महत्त्वपूर्ण छ । न एकलाई छोड्न मिल्छ, न त अर्कोलाई बढी महत्त्व दिन मिल्छ । उनलाई लाग्छ दुई वा त्यो भन्दा बढी दिन चल्ने क्रिकेट यो खेलको मुख्य आधार हो । त्यसैले नेपाल त्यसतर्फ पनि उन्मुख हुनुपर्छ । एकदिवसीय क्रिकेट अहिले उत्तिकै छ । ट्वान्टी–२० क्रिकेट त यो खेलको कान्छो र आधुनिक स्वरूप भयो । क्रिकेटलाई पछिल्लो समय बढीभन्दा बढी लोकप्रिय बनाउन यसकै सबैभन्दा ठूलो भूमिका रह्यो ।
त्यसैले लीले थपे, ‘नेपाल यी तीनै प्रकारका क्रिकेटमा अगाडि बढ्नुपर्छ । तर अहिलेको समय धेरै अर्थमा ट्वान्टी–२० क्रिकेटको हो । यो नयाँ छ र यसले असाध्यै रोमाञ्चक पैदा गर्छ । नेपाल क्रिकेटमा अझ बढी लोकप्रिय बनाउने हो भने ट्वान्टी–२० क्रिकेट बढी भरपर्दो हुनसक्छ ।’ तर यसबीच उनी भन्छन्, सबैभन्दा ठूलो क्रिकेट खेल्नु नै हो । न कि कुन ढाँचाको क्रिकेट खेल्नु भन्ने नै हो ।
उनले पिचबारे पनि आफ्ना ठोस धारणा राखे । ‘पिच बल र ब्याट दुवैलाई मदत गर्ने खालका हुनुपर्छ,’ उनले भने, ‘मेरो अनुभवमा दक्षिण एसियामा पिच बढी नै सुस्त हुन्छ । नेपालमा क्रिकेटका लागि राम्रो पिच बन्नुपर्छ । हामीले नेपालमा बढीभन्दा बढी तीव्र गतिका बलर आओस् भनेर यस्तै सुहाउने पिच बनाउनुपर्छ ।’ नेपाली क्रिकेटबारे समग्रमा उनको निचोड भने यस्तो छ, ‘नेपालीहरू क्रिकेटमा प्रतिभाशाली छन्, यसमा कुनै शंका छैन । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई देखाउने धेरै मौका भने पाएको छैन । यस्तै अवसर सिर्जना गर्न सक्नुपर्छ ।’

खेलकुद

नेपाल समूह विजेता

काठमाडौं (कास)– नेपालले यू–१७ साफ च्याम्पियनसिपमा शुक्रबार भारतलाई ३–१ ले हराएको छ । नेपाल यससँगै समूह ‘बी’ को विजेता बन्यो । श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगितामा नेपालले समूहका दुवै खेल जितेर शीर्षस्थान हात पारेको छ । यस खेलअगाडि नै नेपालसँगै भारत सेमिफाइनल पुगिसकेका थिए ।
दुवैले यसअघिका खेलमा भुटानलाई हराएको हो । रेसकोर्स रंगशालामा भएको समूहको अन्तिम खेलमा नेपालका लागि सरोज दर्लामी मगर, युनेश बुढाथोकी र सुवास बमले गोल गरेका थिए । भारतका ड्यानी मेइटिइले गोल गरे ।
भारतले २५ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । त्यसयता नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको हो । सरोजले पहिलो हाफको अन्त्यमा बराबरी गोल गरेयता युनेशले ४९ र सुवासले ६७ औं मिनेटमा गोल थपेका थिए ।

खेलकुद

दीपेन्द्र र सीता क्रिकेट वर्ष खेलाडी

विभिन्न विधाका विजेता दीपेन्द्रसिंह ऐरी, सीता रानामगर, पारस खड्का, देव खनाल र अस्मिना कर्माचार्य । तस्बिर : केशव थापा/कान्तिपुर

काठमाडौं (कास)– एनसीसीएस–सीप्यान क्रिकेट अवार्ड २०२२ मा दीपेन्द्रसिंह ऐरी र सीता रानामगर वर्ष खेलाडी भएका छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले शुक्रबार राजधानीमा आयोजना गरेको क्रिकेट अवार्डमा पुरुषतर्फ दीपेन्द्रले करण केसी, रोहितकुमार पौडेल र कुशल भुर्तेललाई पछाडि पार्दै क्रिकेटर अफ द इयरको ट्रफी जिते । महिलातर्फ सीताले मनोनयनमा रहेका इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवरलाई उछिनेकी हुन् । अवार्ड विजेता दुवैले समान १ लाख ३२ हजार रुपैयाँ पुरस्कार पाए । स्पेसल अवार्डबाट पूर्वकप्तान पारस खड्कालाई सम्मानित गरिएको थियो । उनले पनि १ लाख ३२ हजार पाए । मोमेन्ट अफ द इयरको उपाधि अस्मिना कर्माचार्यले जितिन् भने इमर्जिङ क्रिकेटर अफ द इयरको अवार्ड देव खनालले जिते । उनीहरू दुवैले समान ६६ हजार रुपैयाँ प्राप्त गरे ।

खेलकुद

भुटानले रच्यो इतिहास

- राजु घिसिङ

(काठमाडौं)
अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको १२ वर्षको इतिहासमा पहिलो जित । पहिलोपल्ट एउटै खेलमा एक गोलभन्दा बढी गरेको । विपक्षीलाई गोल गर्न नदिएर ‘क्लिन–सिट’ राखेको पनि पहिलो । यी यस्तै कीर्तिमानको ओइरो लगाउँदै भुटानी महिला राष्ट्रिय फुटबल टिम दशरथ रंगशालामा शुक्रबार श्रीलंकामाथि ५–० को ऐतिहासिक जित रच्दै पहिलोपल्ट साफ महिला च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।
‘अन्तर्राष्ट्रिय सहभागितामा पहिलो जित हात पारेका छौं । इतिहास कोरेका छौं । हाम्रो लागि यो धेरै ठूलो उपलब्धि हो,’ प्लेयर अफ द म्याचको अवार्ड हात पारेकी भुटानी मिडफिल्डर सुनीता राईले भनिन् । साफ महिला च्याम्पियनसिप सन् २०१० मा कक्सबजार (बंगलादेश) बाट सुरु भएको थियो । त्यही पहिलो संस्करणबाट भुटानी महिला टिमले अन्तर्राष्ट्रिय फुटबलको यात्रा थालेको थियो । अघिल्ला पाँचै संस्करणमा सहभागी भुटानले १४ खेलमध्ये १३ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । पहिलो संस्करणमा श्रीलंकाविरुद्ध १–१ को नतिजा नै भुटानको सबैभन्दा ठूलो उपलब्धि थियो । त्यसैले साफमा १६ औं खेलमा आएर भुटानले पहिलो जित दर्ता गरेको हो ।
फिफा वरीयताले भुटान १७६ औं स्थानमा देखाउँछ भने श्रीलंका त्योभन्दा २३ स्थानमाथि (१५३) । तर, वरीयताको त्यो अन्तर कुनै पनि समय मैदानमा देखिएन । महिला फुटबलको विश्वकप खेलेकी दक्षिण कोरियाली प्रशिक्षक होङ क्युङ–सुकले सम्हालेको भुटानी टिमले अहिले आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाविरुद्ध नै ऐतिहासिक जित हात पारेको हो ।
ऐतिहािसक सफलता उनी निकै खुसी देखिइन् । वास्तवमा खेल पनि गोलको अन्तरजस्तै एकतर्फी नै थियो । पूरा समय भुटानी खेलाडीहरू छाइरहे । छोटो–छोटो पास खेल्दै गोलका अवसर निरन्तर सिर्जना गरिरहे । लगभग पूरा खेल नै श्रीलंकाको पेनाल्टी क्षेत्रवरिपरि केन्द्रित भयो । श्रीलंकाले एकपल्ट पनि गोलका सहज अवसर बनाउन सकेन ।
सुनीता, कप्तान वाङमो घले, डेमा नामग्याल सुरुमै गोलको खाता खोल्न चुकेका थिए । सुकमाया घलेले २६ औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा बल पोस्टमा लागेर फर्केको थियो । तर, ४२ औं मिनेटमा डेमा नामग्यालले ‘१८ यार्ड लाइन’ बाट बल प्रहार गर्दै उत्कृष्ट गोल गरेपछि भुटानले पहिलो हाफमा १–० को अग्रता लियो । उनकै पासमा डेकी लाजोमले ५० औं मिनेटमा अग्रता दोब्बर बनाइन् । उनले पेनाल्टीमार्फत् ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । छिरिङ लादेनले ८५ औं मिनेट र वाङ्मो घलेले ८९ औं मिनेट थप गोल गरेपछि भुटानले ५–० को जित नकालेको हो ।
यो साफको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । तर, दोस्रो खेलमा हात पारको फराकिलो जितसँगै ३ अंक जोडेको भुटान तीन देश रहेको समूह ‘बी’ मा एक खेल बाँकी छंदै अन्तिम चारमा प्रवेश गरेको छ ।

Page 10
Page 11
कोसेली

एक्लै, सिर्फ एक्लै

- सरस्वती प्रतीक्षा

कफी सपको एक कुनामा एक जना मान्छे बसिरहेका छन् । न उनी मोबाइल चलाइरहेका छन्, न ल्यापटपमा छन् । मनोरोगीझैं बसेर केवल कफी मात्र पिइरहेका छन् ।’ ‘द वाल स्ट्रेट’ का खेलकुद स्तम्भकार जेसन गेले सन् २०१५ मा गरेको यो ट्वीट तत्कालीन समयमा निकै विवादास्पद बन्न पुग्यो । कुनै पनि ग्याजेटबिना आफैंसित रमाएर बसिरहेको मान्छेलाई मनोरोगीको दर्जा दिनु आफैंमा कति उदेकलाग्दो विषय हो ? अहिलेका अधिकांश मान्छे यही उदेकको साइबर गुफामा कैद छन् ।
मान्छे स्वयंलाई भुल्न कतै न कतै अल्झिरहेको छ । जब ऊ केवल आफैंसित हुन्छ, तब जेसन गेजस्ताहरूको नजरमा ऊ असामान्य र मनोरोगी देखिन्छ । यहाँ स्वाभाविक हुनु सबैभन्दा अस्वाभाविक लाग्छ र अस्वाभाविक हुनुचाहिँ स्वाभाविक लाग्छ ।
‘आइडेन्टिटी’ नामक छोटो फिल्ममा पनि यही भावको चित्रण गरिएको छ । घरभित्र होस् वा बाहिर सबै मान्छे मकुन्डो लगाएर हिँड्छन् । मकुन्डोधारीहरू थरीथरी रङको मकुन्डोमा छन्– कोही सेतो, कोही रातो, कोही कालो, कोही पहेलो, कोही नीलो । बाटामा जताततै मकुन्डो लगाएका मान्छेको आवतजावत छ । यस्तोमा एक दिन एउटी युवती मकुन्डो नलगाईकन बाहिर निस्कन्छे । मकुन्डो पहिरिएका सबै मान्छे उसलाई आश्चर्य मान्दै फर्कीफर्की हेर्छन् । मकुन्डोधारीको जमातबीच मकुन्डो नलगाउने प्राकृत मान्छे अप्राकृतिक र असामान्य लाग्छ ।
आफू आफैंसित रहन सक्नु सबैभन्दा सजिलो विषय हो किनभने अरूको साथ अरूको अनुकूलतामा मात्रै प्राप्य हुन्छ । आफ्नो साथ भने आफूलाई सधैं प्राप्य हुन्छ । मान्छे प्राप्यभन्दा अप्राप्य कुराको पछाडि दौडिरहेको छ । एकै छिन केही नगरी आफू आफैंसित बस्दा मान्छे बोर हुन थालिहाल्छ र साथमा कोही न कोही वा केही न केही खोज्न सुरु गर्छ ।
केही अपवाद छोडेर अहिलेको जमानाका मान्छे एकान्तसित निकै भयभीत देखिन्छन् । आफूले आफैंसित समय बिताउन सकिरहेका छैनन् । एक्लो हुँदा त एक्लो हुने नै भए, आत्तिने नै भए । एक्लो नहुँदाको बखत पनि कतै एक्लो हुन्छु कि म भन्ने डरले एन्जाइटी बढेर मोनोफोबिया रोगको सिकार भइरहेका छन् मान्छेहरू ।
कोरोना भाइरसका कारण जब संसार ठप्प भयो, मान्छेका गतिहरूमा पनि ब्रेक लाग्यो । आफू आफैंसित रमाउन सक्नेहरूबाहेक अन्य धेरै मान्छे डिप्रेसन र एन्जाइटीको सिकार भए । विश्वमा आतंक मच्चाइरहेको रोगले भन्दा आफ्नै मनको रोगले धेरै मान्छे संक्रमित हुन पुगे ।

मी टाइम अर्थात् स्व–समय
सबै बच्चालाई अरू केही ज्ञानको प्याला पिलाउनु अघि एउटा ज्ञानको प्याला अवश्य पिलाइन्छ, त्यो हो, ‘मानिस सामाजिक प्राणी हो । त्यसैले समाजमा मिलेर बस्नुपर्छ, रमाउनुपर्छ ।’ हरेक बाबुआमालाई अन्तरमुखी स्वभावको बच्चाभन्दा बहिरमुखी स्वभावको बच्चा मन पर्छ किनभने उसले सबैको मन जितिरहेको हुन्छ । एकलकाटे बच्चाहरूलाई यसरी व्यवहार गरिन्छ, मानौं ती मनोरोगी हुन् ।
पहिलेपहिलेका बच्चाहरू सामाजिकताको खोजीमा स्कुलबाट फर्कनासाथ फुत्त झोला फ्याँकेर वरपरका बच्चाहरूसित खेल्न दौडन्थे । अहिलेका बच्चाहरू सामाजिकताको खोजीमा स्कुल युनिफर्म खोल्नासाथ मोबाइल वा ट्याबमा झुन्डिन्छन् । मोबाइल खेलकै माध्यमबाट एउटा महादेशको बच्चा अर्को महादेशको बच्चासित साथी भइरहेको हुन्छ । खाना खाँदा, खाजा खाँदा, खेल्दा, कतै यात्रा गर्दा जहीँतहीँ ऊ कसै न कसैसित जोडिइरहेको हुन्छ । अरू त अरू शौचालय जाँदा पनि आजकलका मानिस मोबाइल नै चलाइरहेका हुन्छन् र शौचकर्म गर्दा पनि कोही न कोही यो वा त्यो रूपमा साथमा हुन्छ । सम्पूर्णतः एक्लो त ऊ हुँदै हुँदैन ।
मान्छे अवश्य सामाजिक प्राणी हो, तर सामाजिकताको ट्याबलेटले मात्रै ऊ सम्पूर्ण रूपमा स्वस्थ हुन्छ भन्ने सोच्नु गलत हुन्छ । उसलाई निरोगी हुन निजी, नितान्त निजी टाइपका ट्याबलेटको पनि जरुरत पर्छ । निजी ट्याबलेट केहीले बन्छ भने त्यो केवल एकान्तको अभ्यासले मात्रै बन्छ ।
एकान्तप्रेमी हुनुको अर्थ नचाहेर एक्लो हुनु भन्ने होइन । एक्लोपन वा लोन्लिनेस त झन् हुँदै होइन । एक्लोपन भौतिकीभन्दा पनि भावको अर्को रूप हो । यसलाई बरु ऐकान्तिकतासित जोडेर हेर्न सकिन्छ ।
एक्लो त मान्छे भीडमा रहँदा पनि हुन्छ । साथीभाइसितको जमघटमा रमाइरहँदा पनि एक्लो हुन सक्छ । कतै समूहमा घुम्न जाँदा पनि एक्लो हुन सक्छ । एकान्तमा एक्लै बस्दा भने कोही एक्लो नहुन सक्छ ।
जिन्दगीलाई इन्जोय गर्नु छ भने सबैभन्दा पहिले आफ्नो एक्लोपनलाई इन्जोय गर्न जान्नुपर्छ । जिन्दगीमा रमाउनु छ भने सबैभन्दा पहिले आफू आफैंसँग रमाउन सिक्नुपर्छ । भनिन्छ, आफ्नो आफूसित जस्तो सम्बन्ध छ, अरूसित पनि त्यस्तै सम्बन्ध हुन्छ ।
कोही मान्छे अरू मान्छेहरूसित एकदमै रिसाइरहेको छ भने बुझ्नुपर्छ, त्यो मान्छे सबैभन्दा बढी आफैंसित रिसाइरहेको छ । कोही मान्छे अरूहरूसित एकदमै झगडा गरिरहन्छ भने बुझ्नुपर्छ, त्यो मान्छे सबैभन्दा बढी आफैंसित झगडा गरिरहेको छ । कोही मान्छे अरूहरूसित एकदमै खुसी भइरहन्छ भने बुझ्नुपर्छ, त्यो मान्छे आफैंसित एकदमै खुसी छ ।
एक्लो हुँदा नि रमाउनुको अर्थ कोही कसैसित बोल्दै नबोल्नु, सेयर नै नगर्नु वा सगोलमा बस्दै नबस्नु भन्ने होइन । केही समय आफू केवल आफूसित मात्र हुनु भन्ने हो । एक्लो हुनु भनेको आफूलाई अवलोकन गर्नु वा ध्यान गर्नु मात्र पनि होइन । दृश्य जेसुकै होस्, द्रष्टा र दृष्टि आफ्नो हुनु हो ।
यस सन्दर्भमा पश्चिमतिर अहिले एउटा शब्द चलनमा छ, जुन शब्दकोशमा छैन तर मान्छेहरूले प्रयोग गरिरहेका छन् । फ्रान्चेस्का स्पेक्टरले सर्वप्रथम प्रयोग गरेको उक्त शब्द हो– अलोनमेन्ट । आफूले आफैंलाई गुणात्मक समय दिने सन्दर्भमा उक्त शब्दको प्रयोग भएको पाइन्छ । अलोनमेन्ट अँगाल्न एक्लोपनलाई अँगाल्नु जरुरी छ, तर यो एक्लोपनलाई जीवनमा कोही हुनु र नहुनुले खासै अर्थ राख्दैन । कसैसित प्रेममा वा विवाहमा रहँदा पनि तपाईं अलोनमेन्टमा रमाउन सक्नुहुन्छ । तपाईं ‘अलोन सिंगल’ रहने वा ‘अलोन टुगेदर’– त्यो तपाईंको आफ्नै रोजाइमा भर पर्छ ।
अलोनमेन्टमा सबैभन्दा महत्त्वपूर्ण विषय हो– मी टाइम अर्थात् स्व–समय । आफूले आफैंलाई दिने समय । आफूले आफैंलाई समय नदिँदासम्म आफ्नो आफैंभित्रको वास्तविक उज्यालोको पहिचान हुन सक्दैन । स्व–समयको अर्थ नै स्व–उत्खनन हो, स्व–प्रज्वलन हो ।
पश्चिममा अलोनमेन्टप्रेमीहरूले मी टाइमको कुरा गरिरहँदा पूर्वमा आजभन्दा पच्चीस सय वर्षअघि नै दार्शनिक बुद्घले सो सम्बन्धमा महान् वाणी बोलिसकेका थिए । महानिर्वाण प्रस्थानका क्रममा चिन्तित भएर जब उनका प्रिय शिष्य आनन्दले प्रश्न गर्छन्, ‘तपाईं नै नरहेपछि अब यो संसारमा हामीलाई सत्यको बाटो कसले देखाउँछ ?’ तब बुद्घले भन्छन्, ‘अप्प दीपो भवः’ अर्थात् आफ्नो दीप आफैं बन । उनको यो सर्वाधिक चर्चित सूत्रवाक्यले कसैको बैसाखीबिनै जीवनमा वास्तविक उज्यालोको खोज गर्न अभिप्रेरित गर्छ । जसरी हर पत्थरभित्र आगो लुकेको हुन्छ, त्यसरी नै हर मान्छेभित्र पनि आगो लुकेको हुन्छ, प्रज्वलन लुकेको हुन्छ । आफैंभित्रको आगो जसले उत्खनन गर्न जान्यो, उसले अँध्यारोमा कहिल्यै भौंतारिनु पर्दैन ।

एकान्तको अभ्यास
मान्छे जन्मँदा एक्लै जन्मन्छ, मर्दा एक्लै मर्छ । जुम्ल्याहा, तिम्ल्याहा जन्मे पनि वा सामूहिक नरसंहारमा परेर मरे पनि हरेक मान्छेको जन्म–मृत्युको अनुभूति एक्लो हुन्छ ।
जन्मदेखि मृत्युसम्मको अन्तरालमा कोही कसैको साथमा निरन्तर रहन्छ भने त्यो केवल आफू आफैंसँग मात्र रहन्छ । आफैंले आफैंलाई दिने साथबाहेक अरू सबैको साथ कुनै निश्चित समय वा कालखण्डका लागि मात्र हुन्छ ।
रवीन्द्रनाथ टैगोरको प्रसिद्घ बङ्गाली गीत ‘एकला चलो रे’ ले पनि मान्छेलाई एक्लै हिँड्न प्रेरित गर्छ । कवि दिनेश अधिकारीको बहुचर्चित कविता ‘एक्लै हिँड्दाको आनन्द’ मा पनि एक्लै हिँड्दाको सुखद अनुभूतिलाई बडो मीठोसित अभिव्यक्त गरिएको छ । यो कविता मान्छेको आफैंसितको सम्बन्धसित जोडिएको दार्शनिक कविता हो, जसले भन्छ– एक्लै हिँड्नुको आनन्द तिमीसित हिँड्दा हुँदो रहेनछ ।
अतीतकालका ऋषिमुनिहरू निर्जन गुफा, जंगल वा हिमप्रदेशमा एकान्तको खोजीमा जाने गर्थे । त्योबेला एकान्तको खोजी साधनाका लागि हुन्थ्यो । जब मानिसको सम्पूर्ण चेतना र मन शून्य हुन्छ, तब जीवन–सत्यको बोध हुन्छ । बुद्घको महाभिनिष्क्रमण सम्पूर्णतः एक्लो भई सत्यको खोजयात्रा थियो ।
प्रसिद्घ दार्शनिक जिन ज्याक रुसोका अनुसार, मानिस स्वतन्त्र जन्मिन्छ, तर सर्वत्र साङ्लाले बाँधिन्छ । यो स्वतन्त्रताको अन्तर्सम्बन्ध मान्छेको एक्लो अवस्थासित छ । मान्छे स्वतन्त्र भएर एक्लो जन्मन्छ र एक्लो भएरै स्वतन्त्र हुन्छ । जन्मेपछि मान्छे मानिसको सभ्यताद्वारा आविष्कृत पारिवारिक र सामाजिक बन्धनमा पर्छ । अधिकार र कर्तव्यका, धर्म र आस्थाका, राजनीतिक वर्चस्व र स्वार्थप्रेरित युद्घ–महायुद्घका चपेटामा पर्न अभिशप्त हुन्छ । यी अवस्थामा बुद्घजनहरू बहुजनका हितार्थ एकान्तको साधना गरी सत्य खोज्छन्, सामान्य जनहरू वैयक्तिक शान्ति खोज्छन् ।
यस अर्थमा स्वतन्त्रता र ऐकान्तिकताका पनि दुई स्वरूप हुन्छ भन्न सकिन्छ । पहिलो व्यक्तिगत (निजी) आवश्यकतायुक्त हुन्छ भने दोस्रो वैश्विक (सार्वजनिक) मानवीय धर्मयुक्त हुन्छ ।
हामीकहाँ एउटा सामान्य, तर घतलाग्दो उखान छ– ‘काम गर्नका गाह्रोले जोगी भयो, जोगी भएको भोलिपल्टदेखि भोकै पर्‍यो ।’ हुन पनि एकान्तमा जाने अधिकांशको अवस्था यस्तै छ । कोही घरपरिवारको समस्यासित भागेर एकान्त खोज्छन्, कोही अन्य भावनात्मक वा सामाजिक समस्यासित भागेर एकान्त खोज्न पुग्छन् ।
दुःख र समस्याहरूदेखि भागेर एकान्त खोज्नेहरूले एकान्त फेला पार्दैनन्, ती एकान्तमा पनि समस्याग्रस्त भइरहन्छन् । जीवनमा मानिसले एकान्त खोज्नु र एकान्तमा भाग्नु अलग विषय हुन् । यी अलग मात्र होइनन्, विपरीत विषय पनि हुन् ।
निर्जन, एकलास, एक्लो स्थान वा अनुभूति ऊर्जा समाप्तिको अवस्था होइन, ऊर्जा वृद्घिको अवस्था हो ।
सिद्घार्थले एकान्तमा बुद्घत्व फेला पारे । न्युटनले एकान्तमा गुरुत्वाकर्षको सिद्घान्त फेला पारे । आइन्सटाइनले एकान्तमा सापेक्षतावादको सिद्घान्त फेला पारे । महान् साहित्यकार र कलाकारहरू एकान्तमा साधना गरेर महान् साहित्य र कला जन्माउँछन् । विचारकहरू विचार जन्माउँछन् । वैज्ञानिकहरू जीवन जगत्को सिद्घान्त जन्माउँछन् ।
सन् १९२९ मा भर्जिनिया उल्फले लेखेको चर्चित निबन्ध ‘अ रुम अफ वन्स ओन’ ले पनि ऐकान्तिकताको पक्षमा बोल्छ । उनी भन्छिन्, ‘यदि आख्यान लेख्नु छ भने एउटी महिलासित पैसा र आफ्नो छुट्टै कोठा हुन जरुरी छ ।’ उनको भनाइअनुसार, महिलाहरू क्षमता नभएर भन्दा पनि स्वयंका निम्ति एकान्तको अभावका कारण लेख्न सकिरहेका छैनन् ।
एकान्तिकता आफ से आफ हुने कुरा होइन, यो त निर्माण गर्ने कुरा हो । एउटी महिलाका निम्ति ऐकान्तिकताको निर्माण गर्न आजभन्दा लगभग १०० वर्षअघि भर्जिनियाको पालामा जति कठिन थियो, अहिले पनि उत्तिकै कठिन छ ।
गहिरिएर हेर्‍यौं भने हरेक धर्मका प्रवर्तक पुरुष छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद, जैन धर्मका प्रवर्तक महावीर, बुद्घ धर्मका प्रवर्तक गौतम बुद्घ, शिख धर्मका प्रवर्तक गुरु नानक, इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट । भलै हिन्दु धर्ममा देवताभन्दा देवीहरूको संख्या धेरै होला, तर हरेक धर्मका प्रवर्तक पुरुष हुनुका पछाडि पनि ज्ञानको खोजीमा निस्कन र एकान्तको अभ्यास गर्नबाट समाज र परिवारले महिलालाई लगाउने अंकुशलाई मान्न सकिन्छ । मानिस पहिले आफ्ना लागि बाँच्छ, त्यसपछि क्षमताअनुसार समाज, देश र विश्वका लागि । ऊ बाँच्दा उसले एकान्तिकताको कति सफल सदुपयोग गर्न सकेको छ ? त्यसले उसको व्यक्तिगत क्षमता, सफलता, असफलता र उपलब्धिलाई दर्साउँछ ।
समकालीन विश्वको सबभन्दा ठूलो त्रासदी एकान्त क्षय (डिस्ट्रक्सन अफ अलोनमेन्ट) हो । आज विश्वका करोडौं मान्छे डिप्रेसनको सिकार, मनोरोगी बन्नुको कारण एकान्त क्षय हो । मनोवैज्ञानिक मनोचिकित्सकहरूले यस्ताखाले दीर्घरोगीहरूको उपचार गर्दा घरपरिवार, साथीभाइलाई भन्दा बढी आफूले आफैंलाई प्राथमिकतामा राख्नुपर्ने र स्वयंलाई माया गर्नुपर्नेमा जोड दिइरहेका छन् । योग र ध्यानको महत्त्व दिनानुदिन बढ्दै जानुका पछाडि पनि स्वयंले स्वयंलाई प्राथमिकतामा राखेर समय दिनुपर्ने मान्यताको ठूलो भूमिका छ ।
सर्भिसिङ गरेन भने समस्या आउँछ भनेर हामी बेलाबेला हाम्रा गाडी, बाइक, स्कुटरहरू सर्भिसिङ गर्छौं । चार्ज नगर्दा मोबाइल चल्दैन भनेर हर दिन मोबाइल चार्ज गर्छौं । यस्तोमा आफ्नो अवस्था ठीकठाक छ कि छैन भनेर जाँच गर्न मान्छेले बेलाबेला एकान्तमा बस्ने, मनन गर्ने अभ्यास गर्न अत्यन्त जरुरी छ । बेलाबेला चुपचाप बसेर आफैंलाई रिचार्ज गर्न आवश्यक छ ।
कसै–कसैलाई लाग्दो हो, विकेन्डमा साथीहरूसित बसेर खाँदा–पिउँदा, रमाइलो गर्दा मान्छे रिचार्ज भइहाल्छ नि ! यो त रिचार्जको अल्पकालीन उपाय मात्रै हो । खुसीको अस्थायी सर्टकट बाटो । वास्तविक खुसी त केवल आफू आफैंसित खुसी हुन सक्दाको क्षणमा प्राप्त हुन्छ । वास्तविक आनन्द त आफू आफ्नो साथमा रमाउन सक्दाको क्षणमा मात्र उपलब्ध हुन्छ ।

अलोनमेन्ट र सम्बन्धहरू
दार्शनिक रूपमा भन्नुपर्दा अलोनमेन्ट र सम्बन्धहरू एउटै दिशामा हिँड्नुपर्ने हो, तर व्यवहारमा यी त्यति सजिलै एकै दिशामा हिँड्न रुचाउँदैनन् । दैनन्दिन जिन्दगीमा अलोनमेन्टको अभ्यास गर्न त्यति सजिलोचाहिँ छैन, जति हामी सोच्छौं ।
किशोरावस्थादेखि नै मेरो सपनाको घर जहिले पनि घना जङ्गलबीचको एकतले घर हो । व्यावहारिक रूपमा जङ्गलबीचको घर त्यति सम्भव नभए पनि कम्तीमा आफ्नो घर ५,७ वटा रूखहरूले घेरिएको होस् र आँखा खुल्नासाथ रूखहरू देख्न पाइयोस् भन्ने लाग्थ्यो । घरअगाडि हुर्किरहेको एउटा कपूर र केही थान धुपीका रूखहरूले सपनाको घरमा नभए पनि अलिअलि सपनाको घरको नजिक–नजिक छु भन्ने एहेसासचाहिँ दिन्छ ।
सोचिल्याउँदा एकान्तप्रेमी त म पहिलेदेखि नै थिएँ । अहिले झन् धेरै एकान्तप्रेमी भएकी छु । अतिशय निर्जन ठाउँमा दशकौंदेखि सम्पूर्णतः एक्लै रमाइरहेकी ‘अ बुक अफ साइलेन्स’ की लेखक सारा मेटल्यान्डले जस्तो ‘अफ द बिट’ जिन्दगी बाँच्ने सपनाले समेत चिमोट्छ कहिलेकाहीँ त । लेखक हुनुको अर्थमा अरूलाई भन्दा बढी एकान्तको अभ्यास गर्ने छुट मसित जरुर छ । लेख्नका लागि प्राप्त हुने एकान्त र स्वयंसित इन्जोय गर्न प्राप्त हुने एकान्त एकैखाले भने हुँदैन ।
दिनमा कम्तीमा एक, दुई घण्टा आफू आफैंसित मात्रै हुन सकिनँ भने मलाई निस्सासिएको महसुस हुन्छ । लगातार लामो समय आफ्नै छोरा वा एकदमै मिल्ने साथीसित बस्नु पर्‍यो भने पनि म सक्दिनँ । भित्रभित्रै छट्पटिन्छु, आत्तिन्छु अनि आफ्नो लागि स्पेस खोज्न थालिहाल्छु ।
कहिलेकाहीँ साँझपख घरबाट फुत्त निस्केर लेकसाइड गएर एक्लै कफी खाँदै बस्ने मुड बन्छ र ‘म गएँ है’ भन्छु छोरालाई । ऊ अपत्यारिलो आँखाले हेर्दै प्रश्न गर्छ, ‘तपाईं साँच्चै एक्लै कफी खान जाने हो र मामु ?’
अनि लेकसाइडको कुनै क्याफेमा बसेर जब म एक्लै कफीको स्वादमा आफैंसित रमिरहेकी हुन्छु, वरपरका मान्छेहरू मलाई यसरी हेर्छन् मानौं म कुनै छुट्टै ग्रहबाट भर्खरै पृथ्वीका अवतरित भएकी हुँ । कफी सकेर नफर्कंदासम्म आश्चर्यका दर्जनौं आँखाले घोचिरहन्छन् । अझ एक्लै बियर वा वाइन पिइरहेको हुँ, हेर्ने मात्र होइन, फर्कीफर्की हेर्ने आँखा अनगिन्ती हुन्छन् । ती आँखाहरूमा आश्चर्यसँगै कैयन् प्रश्न पनि हुन्छन् ।
केही समयपहिले ‘मेरो पहिलो र अन्तिम प्रेम म आफैं हुँ’ भनेर स्टाटस लेखेथें । स्व–प्रेम गर्नु भनेको स्वार्थी हुनु हो भने सायद म दुनियाँकै सबैभन्दा स्वार्थी स्वास्नीमान्छे हुँ । छोरासित पनि कतिपय कुरा नचपाईकन स्पष्ट शब्दमा भनिदिन्छु, ‘सबैभन्दा बढी माया त मलाई आफ्नै लाग्छ अनि मात्रै तिम्रो ।’ मेरो कुरामा सधैं ऊ घुर्कीको ‘नोट अफ डिसेन्ट’ पोख्छ र भन्छ, ‘म त सबैभन्दा बढी माया तपाईंलाई नै गर्छु । तपाईंको माया त अलि स्वार्थी माया भएन र मामु ?’ मलाई आशा छ, उमेरजन्य परिपक्वतासँगै एक दिन छोराले मेरो बुझाइलाई बुझ्नेछ ।
ऐकान्तिकताप्रति हुरुक्क हुँदा र आफैंसित बढी रमाउने स्वभावका कारण पटकपटक कैयन् मित्रता धरापमा परेको अनुभव छ मसित । प्रेम त झन् आईसीयूमै पुगेर फर्केको छ । तपाईं वरपरका मान्छेले पनि ‘अलोनमेन्ट’ लाई बुझ्ने भए कथा बेग्लै होला, होइन भने अलोनमेन्ट रोज्नुको अर्थ सरासर आफ्ना प्रिय सम्बन्धहरूलाई अचानोमा राख्न कबुल गर्नु हो । कहिलेकाहीँ आफूलाई गलत व्याख्या गरिँदा पनि चुपचाप मुस्कुराउनु हो । अलोनमेन्ट र सम्बन्धहरूको तराजुलाई सन्तुलनमा राख्नु निकै जटिल र उल्झनयुक्त काम हो ।
अहिलेको समयको अधिकांश ब्रेक–अपको कथालाई हेर्दा ती प्रेमकथाहरूको एउटा साझा नियति देखिन्छ । प्रेमी–प्रेमिकाबीच प्रेम सकिएर होइन, स्पेस सकिएर प्रेमकथामा पूर्णविराम लागेको पाइन्छ । जब कोही आवश्यकताभन्दा बढी प्रेम गर्न सुरु गर्छ, उसले कत्ति पनि स्पेस नदिईकन दोस्रो व्यक्तिलाई प्रेम गर्छ र बदलामा प्रेम चाहन्छ । हक जतायो भनेर सुरुसुरुमा त रमाइलै लाग्छ, बिस्तारै स्पेसबिनाको प्रेमले अर्को व्यक्तिलाई सकस हुन थाल्छ, निस्सासिन थाल्छ र आफ्नो स्वतन्त्रतामा अंकुश महसुस गर्न थाल्छ । यस्तो खाले ऐंठनमा एक दिन जब प्रेम र स्वतन्त्रतामध्ये एउटा छान्नुपर्ने हुन्छ, अधिकांशले स्वतन्त्रता छानेको देखिन्छ ।

एक्लो हुनुको अर्थमा
एक्लो हुनु भनेको अँध्यारो गुफामा धुम्धुमिएर रन्थनिनु होइन । यो त आफ्ना लागि गुणात्मक समय जुटाउनु हो । आफूभित्रको प्रकृति अर्थात् सिर्जनात्मकतालाई आफूबाहिरको प्रकृतिसँग एकाकार गर्नु हो । प्रकृतिको काखमा गएर मिल्किनु हो । हेनरी डेभिजले आफ्नो कवितामा भनेझैं ‘डाँडापाखा, वनकन्दरा, खोलानाला, तालतलैयामा रमेर एक छिन बिताउने समय नहुने जिन्दगी पनि के जिन्दगी ?’
हामीले जिन्दगीको नाममा जे कुरामा समय खर्चेका हुन्छौं, त्यो खासमा जिन्दगीको नाममा हुँदै हुँदैन । जिन्दगी कटाउनु र जिन्दगी बाँच्नु नितान्त फरक कुरा हुन् । धेरै मान्छेको जिन्दगी जिन्दगी कटाउने मेलो अगाडि सार्दैमा बित्छ । हुनुपर्ने त रहरको बाटो मूलबाटो हो, तर मान्छे अज्ञानतावश कहरको बाटोलाई मूलबाटो सोचेर हिँडिरहेको छ । आफ्नो रहर के हो भनेर खुट्याउन नपाउँदै धेरैको जिन्दगी सकिइसक्छ । आफू को हुँ र केका लागि हुँ भन्ने नजान्दै अरूले ‘तँ यस्तो होस्’ भनिदिएकै भरमा आफूप्रतिको बुझाइमा पूर्णविराम लाग्छ । एकान्तमा बसेर आफ्नो सक्कली अनुहार एकपटक पनि नसुम्सुम्याईकनै धेरैले देहत्याग गर्छन् ।
विश्वकै धनाढ्यमध्येका एक बिल गेट्स एकान्तको खोजीमा हरेक वर्ष जङ्गलतिर लाग्छन् र त्यहाँ उनी चुपचाप एक हप्ता बिताउँछन् । चर्चित इतिहासविद् तथा लेखक युभल नोहा हरारी वर्षको पूरै दुई महिना सारा संसारसँग सम्बन्धविच्छेद गरेर विपश्यनामा लीन हुन्छन् र एकाग्रताको अभ्यास गर्छन् । ठूला–ठूला आध्यात्मिक गुरुहरूले महिनौं महिना मौन व्रत लिने गरेको बेलाबेला सुनिरहेकै छौं । विश्वमा सफल मानिएका हरेक व्यक्तित्वहरूको सफलतापछाडिको रहस्य केलाएर हेर्ने हो भने उनीहरूले कुनै न कुनै रूपमा एकान्तको अभ्यास गरेको पाइन्छ । आफूले आफैंलाई समय दिएर थप निखारता दिएको पाइन्छ ।
अहिलेको समयमा मान्छेहरू एक्लो हुनबाट डराउँछन् र हरपल हरक्षण कसै न कसैको साथको खोजी गरिरहन्छन् । यस्तोमा उनीहरू बिर्सन्छन् कि मान्छेको सबैभन्दा नजिकको साथी मान्छे स्वयं आफैं हो । स्वयंको साथी हुनुपर्नेमा मान्छे स्वयंको दुश्मन भएको छ । त्यसैले एकान्तसित तर्सेर भीडतर्फ भागेको छ ।
जब अस्तित्व र परिचयको कुरा उठ्छ, हामी अक्सर आफैंलाई कथाहरूमा खोज्छौं । स्वयंलाई कसै न कसैले भन्ने गरेका कथाहरूमा भेट्छौं । राम्रो भनिदिँदा मख्ख पर्छौं, नराम्रो भनिदिँदा दुःखी हुन्छौं । अरूका कथाहरूमा आफू हुनु भनेको अंशमा मात्र हुनु हो । समग्रतामा आफ्नो कथामा आफूलाई खोज्न पनि मान्छे एकान्तमा जानैपर्छ । एकान्तमा जाँदा तपाईं स्वयंलाई स्वयंबारे त्यो फरक कथासमेत भन्न सक्नुहुन्छ, जुन अरू कसैले अन्दाजसमेत गर्न सक्दैन ।
सत्यदेखि भागेर एकान्त खोज्नेहरू भगुवा हुन् । स्वयंसित अझ नजिक हुन एकान्त खोज्नेहरू जीवनवादी हुन् । एकान्तमा आफैंसित रमाउन सक्नेहरू मात्रै आफ्नो जिन्दगीको ड्राइभिङ सिटमा आफैं बसेका हुन्छन् । आफ्नो जिन्दगीको स्टेरिङ कता घुमाउने ? ती आफैं निर्णय गर्न सक्षम हुन्छन् । वास्तवमा एकान्तको खोजी स्वयंको खोजी हो, जीवनको खोजी हो, अनन्त सुख र शान्तिको खोजी हो ।

Page 12
कोसेली

'शब्दकोश मौलिक सृजना होइन'

- अंगद ढकाल

विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘गौतमको अंग्रेजी व्याकरण’ का ख्यातिले चिनिएका चूडामणि गौतमले व्याकरण, हिज्जे, शब्दकोशसहितका १ सयभन्दा बढी किताब लेखेका छन् । तेह्रथुमको खाम्लालुङ (हाल आठराई) मा जन्म भई विराटनगर हुँदै काठमाडौंमा भाषा–व्याकरण तथा वर्णविन्यासको मानकीकरणमा लागिपरेका अभियन्ता गौतमले हालै प्रकाशनमा ल्याएको ‘बृहत्तर नेपाली शब्दकोश’ लाई भाषाविज्ञानका जानकारले ‘शुद्ध र सही वर्णविन्यासको अमूल्य उपहार’ मानेका छन् । करिब ८७ हजार शब्दको प्रविष्टिसहित आएको शब्दकोशलाई भाषाविद् शरच्चन्द्र वस्तीले ‘यो कोष नेपाली भाषालाई वर्णविन्यासका विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामर्थ्यले ओतप्रोत’ भनेर सराहना गरेका छन् । नेपाली भाषाको मानकीकरण, शब्द र विशेषणको सामयिकीकरण तथा शब्दकोश बनाउने होडबारे ७९ वर्षीय भाषा–व्याकरणविद् गौतमसँग वार्ता :

हामीकहाँ विद्वान्–अन्वेषकहरू शब्दकोश लेखन र प्रकाशनको होडमा लाग्नुभएको छ । तपाईंका बुझाइमा यो कत्तिको सृजनात्मक कर्म हो ?
शब्दकोश सृजनात्मक काम होइन । किनभने जसले सुरुमा कोश लेख्न सुरु गरे, त्यसमै परिमार्जन र शब्द थप गरिने काम हुँदै आएको हो । यो आफ्नो मौलिक रचना होइन । तर, के भने समाजमा बोलिने र जनजिब्रोमा रहेका शब्दहरूको संकलन, तुलना, विश्लेषण यसमा हुन्छ ।

आ–आफ्नो सोख, साधना र रुचिमा शब्दकोश निस्किने गरेको देखिन्छ । प्रज्ञा प्रतिष्ठानकै कोषमा समेत विवाद/विरोध कायमै छ । यस्तो कोष वा शब्दमा मानकीकरण भन्ने पक्ष रहन्न ?
मानकीकरण हुन्छ नि । भाषाको एकरूपताका पक्षमा विचार्दा, विगतमा हाम्रा स्वनामधन्य विद्वान्–विदुषीले के–कस्ता भाषा, कुन सन्दर्भमा प्रयोग गरेका थिए, कुन शब्दमा अर्थ–बुझाइ पहिल्याएका थिए त्यो पनि हेर्नुपर्छ । विगतमा मानकीकरणको केही प्रयास पनि भएको छ । तर, वर्णविन्यासमा विकृति भित्र्याउने काम भएपछि
(२०१९ पछि) मानकीकरणका सबै प्रयत्न खेर जान थाले । वर्णलाई संयुक्त रूपमा नलेखेर खुट्टा काट्ने पद्धति सुरु गर्ने, सग्लो शब्द वा संयुक्त रूपको शब्दमाथि जे–जसरी परीक्षण हुन थाल्यो, त्यसले धेरै कुरा बिगारेको छ । ‘विद्या’ लेख्नुपर्दा ‘विद्या’ लेखिने अवस्था त्यति सजिलो र सहज हुँदै होइन ।

यसरी शब्द वा व्याख्याको उपयोग गर्दा सामयिक राजनीति, समाज र परिवर्तनलाई आत्मसात् गरिन्न र ? जस्तो अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा समेटिएकाकेही शब्दावलीले जातीय/वर्गीय अपमान र विभेद गरेको देखाउँछ नि ?
यसरी एकमुस्ट रूपमा हेरेफेर गर्ने हो भने शब्द र भावको मूल थाहा हुँदैन । यसो गरियो भने सबै जातजाति एकै भए, एउटै भए । तर, ‘दलित’ शब्दावलीकै उपयोगको कुरा गर्दा उनीहरू आफैंले ‘दलित’ नभनेर अरू कुनै साझा र चित्तबुझ्दो शब्दको थालनी गरे हुन्थ्यो । यहाँ सिधै दलित आयोग भनेर राज्यले विभेदीकरण गरेको अवस्था छ । बुझाइमा अनर्थ मात्रै खोजिएर बढी समस्या भएको हो । जस्तो, विश्वकर्मा भनेका प्रसिद्ध देवता हुन् निर्माण र सृजनाका । तर, सामयिकता समात्ने पक्षमा कुरा गर्दा अहिलेको कानुन र नियमले गरेको व्याख्या अनुसार शब्दको पारिभाषिक रूप दिनुपर्दा यस्तो कानुन/ऐनलाई आधार मानेर मात्रै भन्नुपर्छ, लेख्नुपर्छ । मैले यसै गरेको छु ।

आफ्नो बृहत्तर शब्दकोशलाई कसरी चिनाउन–अर्थ्याउन चाहनुहुन्छ ?
वर्णविन्यासमा भित्र्याइएका सम्पूर्ण विकृतिबाट मुक्त, शिष्ट परम्परा तथा स्वनामधन्य साहित्यकारको प्रयोगमा आधारित तथा धेरै राष्ट्रभाषाका शब्द प्रविष्ट भएकाले समावेशी र सच्चा अर्थमा मानक कोषका रूपमा बृहत्तर शब्दकोश तयार गरेको हुँ । मैले ११ वर्षको आफ्नो तन्मयता र साधना यस कोषमा लगाएको छु, जहाँ करिब ८७ हजार शब्द, ६ सय १२ उखान र ७ सय २४ टुक्का प्रविष्ट छन् ।

यो दाबी त तपाईंले गर्ने/भन्ने कुरा भयो । शब्दकोशजस्ता काममा मानकीकरण स्थापित गर्ने वा तपार्इंको कामलाई स्तर निर्धारण गरिदिने कसले ?
यो मूल्यांकन सरकारी तवरबाट हुने कुरा होइन, फेरि सरकारी हैसियत र तरिकालाई म मान्दिनँ पनि । यसको मूल्यांकन त सच्चा नेपाली भाषा प्रयोगकर्ता र भाषा बचाउ अभियन्ताहरूले गरिदिने कुरा हो । भाषा र शब्द मानकीकरण जबरजस्ती लादिने कुरा होइन, यो स्वतःस्फूर्त हुनुपर्छ । मैले यही आधारलाई समाएको छु । मलाई लागेको के हो भने नेपाली साहित्य र वाङ्मयमा रहेका, विशिष्ट परम्पराबाट स्थापित शब्दहरू नेपाली शब्दकोशहरूमा भेटिन छाडेका छन् । यसले भाषा प्रयोगकर्तामाझ ठूलो अन्योल र निराशा पैदा भएको छ । यही निराशालाई आशामा बदल्न बृहत्तर नेपाली शब्दकोश तयार गरेको हुँ ।

कोसेली

पहाडलाई तनाव छ

पहाडका मान्छे अरब, मलेसिया, कोरियातिर पुगेका छन् । सपना बोकेर हिँडेका जवानी बाकसमा फिर्छन् । यी कवितामा आवेग छन्, उत्तेजना छन् । राज्यमाथि प्रश्नैप्रश्न छन् ।
- मुनाराज शेर्मा

युद्ध–कवि काङमाङ नरेश राईको कविता–किताब ‘तेप्लायु’ मा कविले योनिलाई मातृभूमिका रूपमा विम्बात्मक व्याख्या गरेका छन् । राई भाषामा तेप्लायुको अर्थ हुन्छ– योनि । कविले सृजनाको द्वारलाई साहित्यमा उपस्थित गराएका छन् । समसामयिक कविता, युद्ध कविता र असमानता अन्त्यको आन्दोलन गरी किताबमा कविता तीन खण्डमा बाँडिएका छन् ।
चराले गुँड छाडेझैं सन्तानले भूमि छाडेको पीडाको कथा छ, तेप्लायुमा । पहाडले प्रथम विश्वयुद्धदेखि नै वियोग सहेको छ । वियोगको यो व्यथा वर्तमानमा अझै पेचिलो बनेको छ । पहाडले विश्वलाई आदिवासी युवाको रगत समर्पण गरेको छ । पहाडका मान्छे वर्तमानमा तानिएर अरब, मलेसिया, कोरियासम्म पुगेका छन् । सपना बोकेर हिँडेको जवानी बाकसमा फिर्छन् । तनाव छ पहाडलाई । राज्यले सधैं छायामा राख्ने पहाडले देशलाई सुम्पिरहेको छ– रेमिट्यान्स । कवि यी तमाम पक्षमाथि कला र चेतले बोल्छन् । उनीसँग कवितामा आवेग छ, उत्तेजना छ । उनका कविताहरूले प्रश्नैप्रश्न गरेका छन् राज्यलाई ।
नरेश आफैं सेवानिवृत्त गोर्खा सेना हुन् । मृत्युछेउबाट फर्की आएकाहरूका भेट्रान गोर्खाका कथाहरू छन् संग्रहमा । युद्ध जित्न हिँडेका गोर्खाको जीवनगाथा लेखेका छन् उनले । पहाडले कति पीडा भोग्यो, त्यो वेदना उनका कवितामा आँसु भएर बगेको छ । आँसु बाबुआमाको सन्तानप्रतिको छ । पत्नीको पतिप्रतिको छ । युद्धमा छाडिएका जो कहिल्यै घर फर्किएनन्, तिनीहरूलाई पात्रका रूपमा लेखेका छन् कविले । सामाजिक पीडाको विषय लेखिएका छन् । युद्धमा गएकाहरू युद्धबाट त फर्किए, तर ती कहिल्यै घर फर्किएनन्, उनीहरूका नाममा कविता लेखेका छन् कविले । दोस्रो विश्वयुद्धबाट नफर्किएका अकलबहादुर राई, बाबुराजा लिम्बू, फक्ल्यान्ड युद्धबाट नफर्किएका वुद्धबहादुर लिम्बू... आदि छन् पात्रहरू ।
गोर्खालीलाई दिइएको असमान तलब, पेन्सन, भत्तालगायत विषय छन् कवितामा । गोर्खाको रगत, पसिना र बलिदानको मूल्य नेपाल सरकार वा बेलायतले सम्मानजनक पुर्ताल गर्नुपर्छ भन्छन् यी कविताले । असमानमा परेका सम्पूर्ण गोर्खाको माग त्यही हो ।
कविको प्रवृत्ति भनेकै युद्ध प्रभाव लेखेर युद्धका घाउको प्रक्षेपण गर्नु हो । खासगरी गोर्खाहरूले विश्वव्यापी रूपमा लडेको युद्धको इतिहासलाई उधिनेर प्रामाणिक युद्ध समयको काव्यिक प्रक्षेपण गर्नु उनको मूल उद्देश्य छ । दुई सय वर्षअघिदेखिको अनवरत युद्धले नेपालको मध्यपूर्व पहाडहरूमा कस्तो मानसिक, भौतिक, आर्थिक, सामरिक, सांस्कृतिक, पारिवारिक र राजनीतिक प्रभाव छोड्यो ती विषय कवितामा आएका छन् । कवि युद्ध इतिहासको पुनर्लेखन चाहन्छन् । खासमा योद्धाहरूको इतिहास देशले लेखेन, तसर्थ लेखिनुपर्छ भन्छन् । उनको जिकिर छ, ‘योद्धा बन्नु रहर थिएन जब्बर शासकीय बाध्यता थियो ।’ त्यो बाध्यता अब संस्कार बन्यो । अप्रिय वस्तु र विचार पनि किन कालान्तरमा अपनाइरहनुपर्छ, उनी विमर्श गर्छन् ।
कवि इतिहासकै गर्वमा छिरेर त्यो उधिन्छन् र गर्जिन्छन् । उनको प्रश्न छ– हामी भाडाको सिपाही भैजानुअघिको यो माटालाई दुत्कार्नेहरू को हुन् ? जो अघोर राष्ट्रवादी खोलमा देशलाई पानजसरी चपाएर थुकिरहेका छन् र असली लोकतन्त्र भुलेर सयौं श्रीपेच पहिरेर हिँडिरहेका छन् । किताबमा गोर्खाहरूले भोगेको विछोडको पीडा ज्यादा छ । सन्तानसित छुट्टिने व्यथा यद्यपि झन् जटिल बनेको छ ।
किरात राईहरूको मुन्दुमी सभ्यताको पृष्ठपोषण उनको काव्यिक वैचारिकी हो । उनका समसामयिक खण्डका कवितामा मुन्दुमलाई नजिकबाटै अध्ययन गरिएको छ । उनी युद्ध कवि मात्रै होइनन्, संस्कृति कविसमेत हुन् । उनी पुर्खाको नासो– संस्कृति नभत्काई, नबिगारी संरक्षण गर्नुपर्ने विचार राख्छन् । ग्रामीण समाज पोस्टमोर्डन र विकासे भएकामा चिन्ता छ कविलाई ।
नेपाल देश बहुल सांस्कृतिक छ भन्ने चिन्तनलाई प्रमाणित गर्ने किराती मिथकीय काव्य हो– तेप्लायु । राज्यको सौहार्द, समृद्ध, बहुभाषिक र निरपेक्ष समयको केन्द्रमा उभिएको काव्य हो– तेप्लायु । पहिचान प्राप्ति आन्दोलनको विषयमा कविताले आन्दोलन नै गरेको छ । यो आख्यानात्मक, घटनात्मक, विम्बात्मक र मिथकीय रसहरूले भरिएको किताब हो ।
कवि कवितामा आमासँग ज्यादा खेल्छन् । आमा सृष्टि, जन्मभूमि, गाउँ, देश, ममता, आश्रय घर र भर सबै हो भन्छन् उनी । आमा–वियोगको व्यथा सर्वाधिक पीडाले भनिएको छ किताबमा । उनका केही युद्ध कविता पढ्दा फुटनोट हेरेर इतिहास बुझ्नपर्ने हुन्छ ।
युद्धमा हिँडेको सिपाही र उसकी प्रेमिकाको कारुणिक संवाद र दृश्यले जोसुकैको हृदय काँप्छ । युद्ध न्युरोनहरूको विन्यास गरेर पात्रलाई उभ्याउँछन् कवि र शासकहरूलाई प्रश्न गर्छन् । युद्ध कति त्रासद छ, कविताले भन्छ । ‘तेप्लायु’ विश्वले भोगेको एक युद्धको अनुहार पनि हो, जो हाम्रो अँध्यारो चेहरा पनि हो ।

कोसेली

ढिँडो–गुन्द्रुकको स्वाद

यी नियात्रामा गुन्द्रुकदेखि पिज्जा, म्याकडोनल्डसम्मको स्वाद छ ।
तर, फास्टफुड स्वादको भाषाशैली र प्रस्तुतीकरणको निजत्वले पाठकीय भोक तृप्त गराउँछ ।
- प्रकाश थाम्सुहाङ

बेलायतमा रहेर साहित्य लेखनमा सक्रिय जानु काम्बाङ लिम्बूको पछिल्लो किताब प्रकाशनमा आएको छ । पूर्वी नेपालको ताप्लेजुङबाट सुरुवात भएको नियात्राकारको पाइलाले विश्वको नयाँ/नवीन भूगोल टेकेपछि उत्पन्न अनुभूतिको कलात्मक अभिव्यक्ति हो– ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’, जहाँ नेपाल, हङकङ र युरोप यात्राका अठार थान स्मृति संगृहीत छन् । लामो अवधि थातथलोबाट टाढा रहे पनि लेखनमा रैथाने अर्गानिक सौन्दर्य भेटिनु यो किताबको सबल पक्ष हो । देशविदेशका भौगौलिक विवरण, वेगल सांस्कृतिक धरातलमा निसृत रोमाञ्चकता, सरल चमत्कारी भाषाशैलीले किताबलाई पठनीय बनाएको छ ।
श्रद्धेय लेखक ताना शर्माको ‘घनघस्याको उकालो’ पढेर नियात्रा लेखनको स्वाद चाखिसकेको नेपाली पाठकलाई भारी पुग्ने गरी अब्बल नियात्रा कर्म गर्नु चुनौतीको विषय हो । नेपाली नियात्रा विधाको विडम्बना भनूँ या दुर्भाग्य, यो चुनौती आत्मसात् गर्ने थोरै मात्र नियात्राकार छन् । अधिकांश नियात्रा विदेश घुमघामका बायोडाटा मात्र लाग्छन् । तर, जानु काम्बाङ लिम्बूले आफ्नो नियात्रा लेखनीमा मिहिनेत र साधना गरेकी छन्, पढ्दा लाग्छ । लेखकीय अनुभूति, मानसिक आरोहअवरोह, यात्रामा सृजित घटनाक्रमसँगै पाठकलाई जोडेर राख्न सक्नु अर्थात् समयात्री, समदर्शी बनाउन सक्नु लेखकीय सफलता हो । यसो हुँदा लेखनी जीवन्त, अजम्बरी बन्दो रहेछ । जस्तो पुस्तकमा पहिलो नियात्रा छ— तीस वर्षमा माइत गाउँ । नियात्राकार लामो बिदामा देश आउँदा माइत गाउँ गएको यात्रा वृत्तान्त । सुरुवातमा गाडीका कठिनाइहरूको वर्णनले पाठकलाई झिंझो लागे पनि जब यात्रा झापाबाट उकालो लाग्छ मौसमझैं पाठकलाई शीतल अनुभूत हुँदै जान्छ । घुम्ती, पहाडको साँघुरो बाटो रात्रिकालीन यात्राको अभिव्यक्ति कौशल ताप्लेजुङमा पुगेर उत्कर्षमा पुग्छ । ताप्लेजुङ नियात्राकारको माइती जिल्ला जब तीस वर्षपछि पुग्छिन् उनलाई स्मृतिदंशले छोपेर ल्याउँछ । ताप्लेजुङमा आएको परिवर्तन, सदरमुकामदेखि सुदूर गाउँसम्म कल्पनै नगरेको गाडीको यात्रा, रैथाने संस्कृति, लवज, खानपान र स्थानीय ऐतिहासिक भूगोलको मुन्धुमकृत व्यख्याले पहिलो नियात्रा नै किताबको सुन्दर प्रवेशद्वार बनेको छ ।
आफ्नो जरा, थातथलोबाट अलग्गिएका लेखकहरूमा अतीतमोह ज्यादा हुँदोरहेछ । विश्व साहित्यका उम्दा नामहरूले पनि आफ्नो थातथलो छाडेर अन्य देशहरूमा विचरण गरेका दृष्टान्त छन् । उनीहरूले प्रायः आफ्नोपुरानो थातथलोको स्मृति लेखिरहेछन् । कर्मले, जीवन भोगाइको क्रममा जानु काम्बाङ लिम्बू पनि आफ्नो थातथलोबाट अलग्गिएका छन् । तर्सथ, विकासको चरम विन्दुमा पुगेको देशबाट आफ्नो बालापन सम्झना गर्छिन् । पुस्तकमा दोस्रो नियात्रा छ– तमोरका सुसेली सुसेल्दै । पुस्तकको उम्दा नियात्रा । नियात्राकार एघार/बाह्र वर्षकी हुँदा सक्ने भारी बोकेर ताप्लेजुङको सबैभन्दा उपल्लो भेग ओलाङचुगोला चेने गएको कथा । यो यात्रा कुनै साहसिक, चमत्कारी कथाझैं लाग्छ । अहिलेका डिजिटल पुस्ताहरूका लागि साहसिक राजकुमारीको यात्रा । जो निडर छिन्, निर्धक्क छिन् र गन्तव्यमा अडिग आँटिली सानी राजकुमारी । यो नियात्राले तात्कालिक समयको बन्दव्यापारलाई पनि परिचित गराएको छ । अन्न साटफेर गर्ने प्राचीन व्यापार । कठिन बाटो, ढाकर बोकाइ, ओडारको बास, उमेर छिप्पिएकाहरूको तालमा ताल मिलाएर हिँड्नु, त्यो पनि दस–बाह्र दिनको यात्रा कुनै साहसिक सिनेमाको दृश्यचित्रणभन्दा कम छैन । उहिले पूर्वको पहाडी गाउँहरूमा यस्तै चलन थियो । हाम्रो पाँचथरको गाउँमा भने लेकबाट आलु बोकेर आउँथे र धान साटेर लैजान्थे । यो नियात्रा पढ्दा लाग्छ, हामीसँग कठिन दिनहरू हिजो पनि थियो र आज पनि छ । यद्यपि हाम्रो संस्कृतिले सदैव खुसी हुन सिकाइरहेछ । आलुको बीउ आफ्नो गाउँ ल्याइपुर्‍याउँदाको असीम खुसी त्यसको दृष्टान्त हो । यो नियात्रा पढेर लाग्यो, जानुले नियात्राकारहरूको भीडमा सार्थक उपस्थिति दाबी गरेकी छन् ।
किताबमा सात थान देशको र अन्य विदेशका नियात्रा छन् । स्वदेशको नियात्रा पढ्दा ढिँडो गुन्द्रुकको स्वाद आउँछ । विदेशका नियात्राहरू स्वाभाविक रूपमा पिज्जा, म्याकडोनल्डको स्वाद आउँछ । तर, यी फास्टफुड स्वादमा भाषाशैली र प्रस्तुतीकरणको निजत्वले पाठकीय भोकलाई तृप्त गराउँछ । विदेशका चरम विकाश, आर्थिक मोडल, सांस्कृतिक चेतसँग साक्षात्कार गराउनु नियात्राकारको ध्येय देखिन्छ । नियात्राकारको रेल छुट्दा पाठक बेचैन हुनु, उनको खुसीमा खुसी हुनु, कतैकतै उद्वेलित हुनु समग्रमा लेखकीय कौशलको करामत हो । जस्तो पुस्तकमा अन्तिम नियात्रा छ— फ्लान्डर्स फिल्डमा गोर्खाली । यो नियात्रा बेल्जियमको इपर सहरकेन्द्रित यात्रा वृत्तान्त हो । इपर सहरमा रहेछ फ्लान्डर्स फिल्ड अर्थात् पहिलो विश्वयुद्धमा ज्यान गुमाउने सैनिकहरूको स्मृतिमा बनेको स्मारक । यो स्मारकमा नेपालीहरूको नाम पनि कुँदिएको रहेछ । पहिलो विश्वयुद्धताका बेलायतले पच्चीसभन्दा बढी देशमा उपनिवेश कायम गरेको थिएछ । तीमध्ये भारत पनि एक थियो । बेलायतको तर्फबाट लड्न भारतबाट मात्रै तेह्र लाख सेनाहरू युरोप आएका थिए रे । ती तेह्र लाख सेनामा कति नेपाली थिए ? नियात्राकारको प्रश्न छ । यो प्रश्नले पाठकलाई उद्वेलित बनाउँछ । अझै पनि नेपालीहरू अरूका लागि लडिरहेछन् । निरन्तरता जारी छ । युद्ध स्मारकमा सहिद सैनिकहरूको रगतबाट पप्पी फूल उम्रिएको किस्सा, मर्ने र घाइतेको आँकडा र देशको नाम पढ्दा युद्ध त्रासदीले मस्तिष्क रन्थन्याउँछ । पहिलो र दोस्रो विश्वयुद्धपछि युरोप विशेषगरी बेलायतको सत्ता संरचनामा आएको फेरबदल, उपनिवेशवादमा अल्झिरहँदा अन्य राष्ट्रको प्रगतिमाथि विश्लेषण नियात्राकारले चित्तबुझ्दो ढङ्गले गरेकी छन् ।
नेपाली डायास्पोरा भनूँ या प्रवासी नेपालीहरू विदेश रहँदा आफ्नो जरासँग सदैव जोडिएका हुन्छन् भन्ने उदाहरण हो— बेलायतमा मेरा शनिबार, आइतबार । त्यहाँ नेपालीहरूले विभिन्न साहित्यिक, सांस्कृतिक संस्थाहरू खोलेका हुँदारहेछन् । ती संस्थाहरूले बिदा पारेर सृजनात्मक कार्यक्रमको आयोजना गर्दारहेछन् । यो नियात्रा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको वार्षिक कार्यक्रममा सरिक हुन जाँदाको इतिवृत्तान्त हो । रेल चढ्दै गर्दा नियात्राकारलाई पुरानो घटना याद आउँछ । थकानले नियात्राकार निदाएपछि गलत रेल स्टेसनमा पुग्नु, सुनसान मध्यरातमा एक्लै हुनुको भय, धेरै कोसिसपछि श्रीमान्को उद्धार याद भएर आउँछ । पुरानो घटना सम्झना गर्दै कार्यक्रममा सरिक भएको यात्रालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । खोक्लिङको लङ्के पिँडालु अर्को पठनीय नियात्रा हो । तमोरपार खोक्लिङ ताप्लेजुङको एक गाउँ जहाँ नियात्राकारकी फुपू बस्छिन् । उनलाई भेट्न जाँदा झापादेखि खोक्लिङसम्मको यात्रा वृत्तान्त यो नियात्रामा समेटिएको छ । यो नियात्राले फगत यात्रा विवरण मात्र नभनी गाउँमा मोटरबाटो पुगेपछिको आर्थिक गतिविधि, नदी किनार, दोभानतिर विस्तारित बस्तीको सौन्दर्य चिन्तन पनि बताउँछ । अर्को पक्ष निख्खुर लिम्बू गाउँको जीवन पद्धति, सांस्कृतिक रीतिरिवाजलाई पनि अनुभूत गर्न पाइन्छ । यो नियात्रा पढ्दा छनुवा जाँड र लङ्के पिँडालु एकसाथ खाँदा उत्पन्न हुने स्वाद याद दिलाउँछ । नियात्रा विधाका जानकारहरूको एउटा धारणा रहेछ कि नियात्रा विदेश भ्रमणको हुनुपर्छ । यो धारणामाथि गतिलो जवाफ हो— खोक्लिङको लङ्के पिँडालु । नियात्राको प्रमुख सर्त यात्रा हो, तर यात्रा विदेशकै हुनुपर्छ भन्ने लेँडेढिपी अब रहेन । आमाको पेन्सनपट्टा बनाउँदाको दुःख नियात्रामा बुबाको मृत्युपछि उनको नामको पेन्सन आमाको नाममा सार्न काठमाडौं जाँदा भोग्नुपरेको कष्ट, कर्मचारीतन्त्रको ढिलासुस्ती रोचक ढंगले प्रस्तुत गरिएको छ ।
किताबभित्र पस्नुअघि भनेर नियात्राकारले पुस्तकमा आफ्नो भनाइ राखेकी छन् । उक्त भनाइको सुरुवातमै क्रिस्टोफर कोलम्बस र भास्को डी गामालाई महान् यात्रीको विम्बमा चित्रण गरिएको छ । यो मानक निरन्तरता हो । तर, अहिले मानकहरू भत्किरहेको समय हो ।
अहिलेको नवइतिहासले कोलम्बस र भास्को डी गामाका त्यो बेलाका काला कर्तुतहरूलाई उजागर गर्दै छ । ती कथित साहसिक यात्रीहरूले रैथाने आवादी, स्थानीय संस्कृतिलाई गरेको क्रूर शोषण र बर्बरता अहिले सतहमा आइरहेछ ।
नयाँ जमिन खोज्दै स्थानीय स्रोतसाधनको बर्बर लुट गर्नु तिनीहरूको ध्येय थियो, नवइतिहासले भन्छ । तसर्थ, आफ्नो भनाइमा यी नामहरू उल्लेख नगरेकै भए जाती हुन्थ्यो ।

कोसेली

छोडेर जानुको रहस्य !


जसरी
पवनको प्रत्येक झोंकाले फूल स्पर्शमा
सुवासहरु छोडेर जान्छन्
सल्किएर सुर्तीहरुले धूवााको सडकमार्गबाट
फिल्टरहरु छोडेर जान्छन्
रुखका हाागाहरुमा झुलिरहेका पातहरुले
उझाड बनाएर छोडेर जान्छन्
बाासुरीका प्वाालहरुलाई सरगमका नादहरुले छोडेर जान्छन्
पहाडको अस्तित्वलाई पहिरोमा ढुंगामाटोले छोडेर जान्छन्
निधारका टीकाहरुलाई अक्षताले छोडेर जान्छन्
यसरी भेटिनु, छुटिनु र परिवर्तन हुनु
जीवन हुन सक्छ
कति चक्रझैं घुम्लान
कति समानान्तर रेखा होलान् ।
तर, याद गोडाको बुढीऔंलामा दायााबायाा पलाएको नङजस्तै गढेर चसक्क झस्काउाछ।
कहिले साथ नछोडेका घाम, आकाश, जल, पवन
र, यो माटोलाई
सोध्ने मन थियो, के हो राज ?
तर, मौन छन्
मौनतामै प्रश्न खोज्ने अभ्यास गर्दैगर्दा
भेटिन थालेका छ्न्
केही जवाफ ।
छोडेर जानेहरु केही न केही दिएर जान्छन्
छोडेर जानेहरु केही न केही लिएर आउँछन्
जसरी,
सूर्यास्तले सिंगो आध्यारो छोडेर जाादा
शीतल जूनताराको आकाश बाटिका दिएर जान्छ
रातभरि प्यासी धर्तीलाई तिर्खा मेटाउन छोडेर गएका शीतहरुले बिहानभरि कुहिरोको मसी बनेर आकाशको क्यानभासमा चित्र कोर्छन् ।
जवानहरुले छोडेर गएको नुनबिनाको तरकारीजस्तो जीवन
पसिना र रगतले किनेर ल्याउाछ स्वादिलो
प्रीति भोजमय जीवन ।
मुर्झाएर छाडेर गएका फूलहरुले
नयाा बीज बनेर पुनः वाटिका सजाउाछ ।
जीवित रहन पनि त
छोडेर गएको कार्बनडाइक्साइडको
रित्तो स्थान पाएपछि मात्र
प्राणवायुले प्राण भर्दो रैछ ।

जनक कार्की

Page 13
कोसेली

समाजवादको गिरि स्कुल

सत्याग्रह र आन्दोलनका नाममा कांग्रेस–कम्युनिस्ट पालैपालो जेल पुगिरहेका थिए । दलबलसहित एक हूल मानिस प्रदीप गिरिमाथि जाइलागे ।
गिरिको बचाउमा हामी केही बन्दी नउभिएका भए त्यस दिन जेलमा अप्रिय घटना हुन सक्थ्यो ।
- हरि रोका

विसं २०१७ को कू–देतापछि नेपाली समाज राजनीतिक छलफल र बहसबाट अलग्गियो । राजनीतिक दलका नेताहरू कि जेलमा थिए कि भारत प्रवासमा । झन्डै एक दशकपछि भएको झापा विद्रोह र ओखलढुंगाको टिम्बुरबोटेबाट सुरु गर्न खोजिएको सशस्त्र विद्रोह दबाइएपछि मुलुकमा मुर्दाशान्ति छाएको थियो । मुठ्ठीभरका सम्भ्रान्तमा राजनीति खुम्चिएपछि ‘भित्ताका पनि कान हुन्छन्’ भनेर समाजमा डर पैदा गरिएको थियो ।
जेनरल जियाउल हकको इसारामा पाकिस्तानी पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिने ऐलान दक्षिण एसियाली राजनीतिमा सबैभन्दा विषाक्त प्रतिगामी कदम थियो । प्रजातान्त्रिक राजनीतिको तेजोवध गर्न र डर पैदा गरेर तानाशाही राज चलाउन यो खतरनाक प्रवृत्ति दक्षिण एसियाभर फैलन सक्थ्यो । त्यो प्रवृत्तिविरुद्ध जुध्न र आफूभित्र हुर्किएको डर हटाउन जरुरी थियो, अर्कोतर्फ छिमेकमा भइरहेका तानाशाही शासनविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउनु पनि उत्तिकै जरुरी थियो । पाकिस्तानी दूतावासमा शान्तिपूर्ण ढंगले विरोधपत्र बुझाउन गएका निहत्था विद्यार्थीमाथि सरकार जाइलाग्यो । त्यसपछि सुरु भयो शान्तिपूर्ण विद्यार्थी आन्दोलन । र, त्यो आन्दोलन बिस्तारै देशव्यापी विस्तार भयो । झन्डै २ महिना लामो संघर्षपछि राजा वीरेन्द्रले जेठ २, २०३६ मा (मे २३, १९७९) ‘निर्दल कि बहुदल’ मध्ये एक छान्ने गरी जनमतसंग्रह घोषणा गरे । त्यसपछि राजनीतिक सरगर्मी ह्वात्तै बढ्यो ।
मुलुकभरि हुर्कंदै गरेको नयाँ प्रकारको राजनीतिक माहोलबीच जनकपुरको रारा बहुमुखी क्याम्पस–हलमा पहिलो पटक प्रदीप गिरिलाई हेर्ने–सुन्ने अवसर मिल्यो । गिरिको भाषण अनौठो लागेको थियो । उनी अनौपचारिक ढंगले बात मारेजस्तो शैलीमा सहज र सबैले बुझ्ने भाषामा ‘बहुदलीय व्यवस्था किन आवश्यक छ र बहुदललाई जिताउन सबै राजनीतिक पार्टी किन एक ढिक्का भएर अगाडि बढ्नु जरुरी छ’ भन्ने तर्क राखिरहेका थिए साथीहरूमाझ । उनको सोच आधिकारिक कांग्रेस अझ भनौं बीपी कोइरालाको वामपन्थीसँग नमिली एक्लै अगाडि बढ्ने उद्घोषभन्दा विपरीत थियो । पछि साथीहरूबाट थाहा लाग्यो, उनी कोइराला कांग्रेसले मन नपराएका इतर कांग्रेस रहेछन् । मजस्तो राजनीतिको नव–सिकारुका लागि त्यो नौलो अभ्यास थियो ।
...
जनमतसंग्रहमा बहुदलले हार्‍यो । बीपीले जनमतसंग्रहको जे–जस्तो परिणाम आए पनि स्विकार्ने भनेपछि तत्काल आन्दोलन उठ्ने सम्भावना थिएन । केही समय नबित्दै बीपीको पनि देहान्त भयो । बीपीको भौतिक अनुपस्थितिले नैराश्यता बढ्नु र राजनीतिक खालीपन उत्पन्न हुनु अस्वाभाविक थिएन । कांग्रेसका महामन्त्री पर्शुनारायण चौधरीलगायत केही मूर्धन्य नेताहरू ‘अहिलेको राजनीतिक शाश्वत–सत्य भनेकै सुधारिएको पञ्चायत हो’ भनेर पञ्चायतमा हामफालिसकेका थिए । बजारमा एउटा हल्ला व्याप्त थियो– ‘महामन्त्री गिरिजाप्रसाद कोइराला पञ्चायती जनवर्गीय संगठनको सदस्य बन्नुनपर्ने हो भने कांग्रेस पञ्चायती चुनावमा होमिन्छ भनेर दरबारसँग बार्गेनिङ गरिरहेका छन् ।’ टुक्रा–टुक्रामा विभाजित भएकैले वाम–पार्टीहरू कमजोर थिए । जनमतसंग्रहपछि पञ्चायत पनि बलियो भएको थिएन । पञ्चहरू दुई भागमा बाँडिएका थिए– भूमिगत गिरोह र भुइँफुट्टा गिरोह । एकले अर्कोलाई सिध्याउने खेलमा थिए ती । ठकुराठी काण्ड त्यसकै उपज थियो । निर्दललाई जिताउने नाममा संस्थागत रूपमै भ्रष्टाचार संस्थागत भएको थियो । संरचनागत समस्याका कारण अर्थतन्त्र चौपट हुँदै थियो । उत्पादन निरन्तर खस्किरहेको थियो । खुला परिवेशमा भएको जनमतसंग्रहका कारण जनतामा पञ्चायत निर्विकल्प व्यवस्था होइन भन्ने स्थापित भएको थियो, तर कसको संयोजनकारी भूमिकामा आन्दोलन हुन्छ त ? प्रश्न अन्योलग्रस्त थियो ।
...
०३९ भदौको एक साँझ प्रदीप गिरिलाई साथ लिएर कृष्णराज बर्मा मेरो डेरामा आइपुगे । केही क्षणपछि ‘समीक्षा’ का सम्पादक मदनमणि माड्साब झुल्किए । खानपिन र बातचित सँगसँगै चल्यो । पहिलो पटक नेपाली राजनीतिका अन्तर–विरोधबारे प्रदीप गिरिको व्याख्यान सुन्ने अवसर मिल्यो । त्यसबेलासम्म मैले थाहा पाएका राजनीतिक दर्शन, अर्थराजनीति तथा सामाजिक अन्तरविरोधको व्याख्यानभन्दा उनको व्याख्या फरक थियो । अनुमति लिएर मैले सोधेँ, ‘तपाईंले भनिरहेको समाजवाद मैले बुझेको समाजवादभन्दा किन भिन्न छ ?’
उनैले मलाई सोधे, ‘तपाईंले बुझेको समाजवाद कस्तो छ ? एक पटक सुनौं त ।’
‘समाजवाद उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व र समाजलाई व्यवस्थित गर्ने आर्थिक, सामाजिक प्रणाली हो । र, त्यो समाजवाद त्यस्तो राजनीतिक सिद्धान्त र आन्दोलन हो, जसको उद्देश्य नै सामूहिक स्वामित्वको प्रणाली स्थापित गर्न वर्गसंघर्ष अपरिहार्य बन्न पुग्छ,’ मैले भनेँ ।
‘तपाईंको यहाँसम्मको परिभाषामा मेरो पूर्ण सहमति छ । तर, तपाईं र मेराबीच भिन्नता यसपछि सुरु हुन्छ । तपाईंको स्कुलले सपाट रूपमा वर्गको कुरा गर्छ । तर, ती वर्गहरूमा उपवर्गहरू हुन्छन् र उनीहरूबीच पनि अन्तर्विरोध हुन्छ भन्ने बुझ्नै खोज्दैन । तेस्रो विश्वका अधिकांश मुलुकमा वर्ग बन्ने प्रक्रिया युरोप र अमेरिकाभन्दा भिन्न छ । आय–आर्जन वा सम्पत्तिका कारण मात्र हामीकहँ वर्ग जन्मदैनन्, वर्गको मुहान वा स्रोतहरू धेरै छन् । तपाईंले हाम्राजस्ता मुलुकभित्रको वर्गीय अन्तर्विरोध बुझ्न पश्चिमा साहित्यको मात्रै अध्ययन पर्याप्त हुँदैन । पूर्वीय साहित्य, त्यसमा पनि दक्षिण एसियाली सामाजिक इतिहास गहिरोसँग बुझ्न जरुरी छ । समय छ भने माड्साबको ‘माधवी’ पढिहाल्नुस् साथमा जनकलाल शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’ पढ्न नछुटाउनुस् । सहज लाग्छ र समय छ भने ‘महाभारत’ र ‘रामायण’ पनि पढ्नुस् ।’
सिद्धान्तका यी विषय बिट मारेपछि बर्माजीलाई सम्बोधन गर्दै गिरिले भने, ‘राजनीतिमा बढ्दै गएको चरम व्यक्तिवादी अहंकारबाट बाहिर निस्कनुपर्‍यो बर्माजी । तपार्इं मनमोहन, सहाना, विष्णुजी, अमात्यजीसँग भेटेर राजनीतिक भलाकुसारी गर्नुस् । सक्नुहुन्छ मालेहरूसँग पनि कुरा गर्नुस् । सिनियर–जुनियरको कुरा छोड्नुस् । पार्टी नै मिलाउनुस्, सक्नुहुन्न मोर्चाबन्दी गर्न तयार पार्नुस् । म साथीहरूसँग मिलेर कांग्रेसभित्र वामपन्थीसँग सहकार्य गर्ने वातावरण बनाउन कोसिस गर्छु ।’ बर्माजीले एक शब्द भने, ‘ठीक छ कोसिस गरौं ।’ त्यसपछि गिरिसँग मेरो लामो समय भेटघाट भएन । ०४१ जेठमै म फेरि राजकाज ऐन अन्तर्गत जेल परेँ ।
आज पनि म यकिनसाथ भन्न सक्दिनँ– ४२ को कांग्रेसी सत्याग्रह र पाँच वामपन्थी समूहले गरेको आन्दोलनको तादात्म्यता मिल्नुमा सैद्धान्तिक वैचारिक कति सुविचारित थियो ? त्यसमा बर्मा र गिरिको व्यक्तिगत योगदान के–कस्तो रह्यो ? तर, उठान गिरिले नै गरेका थिए । जे भए पनि सामान्य मानिसमा विश्वास पलाएको थियो, ‘कांग्रेस र कम्युनिस्टबीचको अघोषित सहकार्यले अब केही त अवश्य हुन्छ ।’
...
सत्याग्रह र आन्दोलनका नाममा कांग्रेस–कम्युनिस्ट पालैपालो जेल आइरहेका थिए । सत्याग्रहीका रूपमा धेरै साथीसहित प्रदीप गिरिलाई पनि हामीले कन्द्रीय कारागारमा सामूहिक स्वागत गर्‍यौं । यो सिलसिला अनवरत चलिरहेकै थियो । सत्याग्रह र आन्दोलनले उचाई ग्रहण गर्लाजस्तो भइरहेकै बेला रामराजाप्रसाद सिंहको जनमोर्चाले राजधानीमा बमकाण्ड मच्चायो । नेतृत्वले सत्याग्रह र आन्दोलन स्थगन गरे । वातावरण अन्योलग्रस्त बन्दै गएको थियो । ‘केही दिनमा छुटिहालिन्छ’ भनेर सत्याग्रहमा सहभागी हुन आएका कार्यकर्ता इरिटेड देखिन्थे ।
केही दिन नबित्दै कांग्रेसभित्रको अन्तर्विरोध जेलभित्रको चारदिवारीभित्र छताछुल्ल हुन पुग्यो । सुधारिएको पञ्चायती चुनावमा भाग लिएर सत्ताको ‘तर्’ मार्न पाइने सुखद–सपना देखिरहेका कांग्रसीहरू सत्याग्रहका पक्षपातीसँग आगो देखिन्थे । पार्टीको हठात् सत्याग्रह कार्यक्रममा भाग लिनुपरेको र बमकाण्डले अनिश्चितकाल जेल भोग्नुपर्ने चिन्ताले उनीहरूलाई सताइरहेको थियो । एक जना ठूलै वकिलसाहेब (जो परिवर्तनपछि सभामुख पनि हुन पुगे) र हत्या कसुरमा कैद भोग्दै जेलभित्र मास्टरी गरिरहेका एक जना मुरमुरिँदै मानिसहरूको दलबल बोकेर प्रदीप गिरिविरुद्ध जाइलाग्न आइपुगे । पिस्कोर काण्डका बन्दीसहित हामी केही बचाउमा नउभिएको भए जेलभित्रै केही हुन सक्थ्यो । जेल प्रशासनले केही घण्टाभित्रै प्रदीप गिरि र भोला बोहोरालगायत हामीलाई सँगै गाँसिएको भद्रगोल जेलमा सार्‍यो । कसैले पनि सोधेनन्, ‘उहाँहरू तपाईंसित किन रिसाएका ?’ कुरा जगजाहेर थियो ।
...
जेलमा पठनसंस्कृति कमजोर थियो । पुस्तकालय जीर्ण थिए । ०१७ देखि २७ सालसम्मको अवधिमा जेल परेका नेताले छोडेका केही क्लासिकल किताब थिए त्यहाँ । त्यसअघि बसेको विराटनगरस्थित जेलमा पुस्तकालय थियो/थिएन मेसो नै पाइएन । ०३७ देखि २०४६ को अवधिमा मैले काठमाडौंका चारमध्ये तीनवटा केन्द्रीय, नख्खु र भद्रगोल कारगारमा (राजकाजसम्बन्धी र शान्तिसुरक्षा खलल पुर्‍याएको अभियोगमा) आधा–दर्जन वर्ष भुक्तान गर्ने अवसर पाएको थिएँ । तर, ती अवधिमा कारागार पुस्तकालयको हालत उस्तै थियो ।
प्रदीप गिरिसँगको ०३९ भदौको त्यो रातको छलफलले मलाई महसुस भएको थियो, ‘मेरो पढाइको क्षितिज साँघुरो रहेछ ।’ बुझाइ फराकिलो बनाउन पढ्नु जरुरी छ भनेर आफ्नै मनले उद्वेलित गरेको थियो । तर, कसरी पढ्ने ? कसरी छलफल गर्ने ? पठनविधि ठम्याउन सकेको थिइनँ । नयाँ र स्तरीय किताब किन्ने पैसा थिएन । सेकेन्ड–हेन्ड किताबको बजार पनि थिएन । पढ्नेहरूसँग संगत गर्ने अवसर मिलेकै थिएन । क्लासिकल मार्क्सवादका आधारभूत पाठ मैले कामरेड–त्रय (सइद कमर शाह, चन्द्रदेव जोशी र अच्युतानन्द भण्डारी) बाट पाएको थिएँ । पछि चन्द्रदेव जोशीको संकलनबाट मार्क्सवादका क्लासिकल केही किताब प्राप्त गरेँ र पढेँ ।
भद्रगोल कारागार पनि खचाखच भरिएको थियो । जेलभित्र दलहरू थिए, आ–आफ्ना गुट–उपगुट थिए । मठाधीशजस्ता देखिने मान्छेहरू आ–आफ्ना झुन्ड बनाएर मर्निङवाकमा निस्कन्थे । ती नमस्कार फर्काउँदैनथे । नमस्ते नगरे ‘ठूलो पल्टेछ’ भनेर प्याच्च कुरा काट्थे । जे होस् नेपाली राजनीतिका पात्रहरूको व्यवहारले वातावरण रमाइलै थियो । तर, प्रदीप गिरिको गुट थिएन । केही साथी–भाइ उनीसँग झुम्मिन्थे, जसमा ज्ञानको तृष्णा थियो । तर, कांग्रेसभित्र त्यस्तो जमात अत्यन्तै अल्पमतमा परेको देखिन्थ्यो । गिरिले त्यसलाई खासै महत्त्व दिएको पनि देखिन्नथ्यो ।
हामीले सामूहिक रूपमा कैयौं दिन–रात राजनीतिक कुराकानी र छलफलमा बिताएका थियौं । सन् १८७० देखि १९१४ सम्मको सेकेन्ड सोललिस्ट इन्टरनेसनलबारे आद्योपान्त पढेको थिएँ । इफुर्त प्रोग्राम (जर्मनको आर्थिक–सामाजिक योजना) देखि लेनिनको ‘स्टेट एन्ड रेभ्युल्युसन’ सम्म, कार्ल काउस्कीको ‘द सोसियल रेभ्युल्युसन’ देखि जर्जी प्लेखानोभको ‘फन्डामेन्टल प्रोब्लेम अफ मार्क्सिजम’ सम्म । पश्चिम युरोपेली समाजवादभन्दा गिरि बढी लेनिन र रोजालाई मन पराउँथे । लेनिनविरोधी विली ब्रान्टको जीवनगाथा नलेखेर लेनिन र रोजाको जीवनी लेख्नुपछाडिको कारण पश्चिम युरोपेली समाजवादको रूप धोद्रो रहेको ज्ञान उनमा थियो । उनी गलत थिएनन् । नभन्दै १९९१ मा सोभियत संघ र पूर्वी युरोपेली सामाजवाद ढल्दा पश्चिम युरोपेली प्रजातान्त्रिक समाजवादी पनि नामेट भए । पछिल्लो कालखण्डमा सायद संगतकै कारण हो उनी डा. राममनोहर लोहिया र जयप्रकाश नारायणसँग बढी प्रभावित थिए । उनीहरू मार्क्सवादी समाजवादवाट निकै बाहिर थिए । मेरो कैद–समय तोकिएको थियो, उनी शान्ति सुरक्षाअन्तर्गत जेल परेका थिए ।
०४६ मा उनी कहाँबाट आन्दोलनमा सरिक भएका थिए, त्यसबेला उनीसँग मेरो सम्पर्क भएन । यद्यपि उनले मलाई पढ्न सुझाएका डा.लोहियाका केही पुस्तक (द कास्ट सिस्टम, सात क्रान्तियाँ, समाजवाद की अर्थनीति, मार्क्स, गान्धी एन्ड सोसिलिजम) र जयप्रकाश नारायणको ‘सोसिलिजम’, ‘सर्वोदय एन्ड डेमोक्रेसी’ पढेर भारतीय प्रजातान्त्रिक समाजवाद बुझ्ने अवसर मिलेको थियो ।
...
उनीसँगको मेरो तेस्रो जम्काभेट रमाइलो थिएन । त्यो जम्काभेट थियो– जवाहरलाल नेहरू विश्वविद्यालयको गंगा होस्टेलको वार्डेन क्वार्टरमा । त्यसताका म पढाइको तृष्णा मेट्न जवाहरलाल नेहरू विश्वविद्यालय पुगेको थिएँ । त्यतिबेला गिरि पनि दिल्लीमै थिए । ऋतुप्रिया म्याडमकै क्वार्टरमा उहाँका श्रीमान् विजय प्रताप (जो भ्याट्रन सोसिलिस्ट हुनुहुन्छ) ले म बस्ने होस्टेलमा फोन गरेर मलाई आउन निमन्त्रणा गर्नुभयो । क्लास सकेर फर्कंदा दिउसो साढे १२ बजिसकेको थियो । खाना हापेर म उहाँकै क्वार्टर पुगेँ । मैले भेट्ने कल्पनै नगरेका दुई व्यक्तित्व त्यहाँ थिए– भारतका पूर्वप्रधानमन्त्री विश्वनाथप्रताप सिंह र समाजवादी हस्ती सुरेन्द्र मोहन । विजयप्रतापको आतिथ्यमा नेपालबाट प्रदीप गिरिसँगै विमलेन्द्र निधि र प्रकाशशरण महत थिए, घनीभूत वार्तामा ।
मैले सबैलाई नमस्कार गरेँ र बोलाइनुको प्रयोजनबारे प्रश्नवाचक अनुहारमा विजयप्रतापलाई हेरेँ । विजयले मेरो परिचय दिए । पहिले पनि भेट भएका सुरेन्द्र मोहनले मलाई हिन्दीमा एउटा प्रश्न सोधे, ‘ए हमारे मित्रलोग कह रहें हे कि, देउवाजीकी राजनीतिक कदम सही है । उन्हो ने पार्टीकी असहयोग की कारण ही राजा ज्ञानेन्द्रको संसद् भंग करने के लिए सिफारिस करना पडा । और राजा ने अधिकार अपना हात मे ले लिया । यिन का थप कहना है एक तरफ माओवादी का युद्ध, दुसरी तरफ पार्टी की असहयोग भला देउवा क्या कर सक्ते थे । आपका अर्ब्जरभेसन या राय क्या हे ?’
मलाई केही अन्योल थिएन । मैले टुटेफुटेको हिन्दीमै सुस्तरी भनेँ, ‘ए स्पष्टीकरण जाहेज नही है । बहुत सारे लोगो ने शहादत करने बाद, पिँडी दर पिँडी, हजारौँ लाखौँ लोग जेल, नेल, प्रवास, अंगभंग होने के कठिन संघर्ष के बाद ए प्रजातन्त्र प्राप्त हुवा था । यिन के नेता ने जनता की नासो किस्ती मे डाल के राजा के पाउ मे अर्पण करदिया । य समस्या की समाधान नही करसक्ते थे तो पार्लियामेन्टको सौँप सक्ते थे ।’ मेरो कुरा सुनेर गिरिलगायत नेपाली साथीहरू प्रतिक्रियाविहीन भए । सुरेन्द्रमोहनले धन्यवाद दिएर मलाई बिदा गरे । म पनि सबैलाई नमस्कार गरेर अमिलो मनसहित बाहिरिएँ ।
...
दोसो गठजोडपूर्ण आन्दोलन (०४६) ले संसदीय व्यवस्था पुनःस्थापित भएको थियो । गठजोड (वामपन्थी र कांग्रसबीच) बनाउन कांग्रेसका शीर्षलाई तयार पार्न गिरिको भूमिका थियो भन्ने केन्द्रीय कारागारको माथि उल्लिखित घटनाले पुष्टि गर्छ । भनिरहनु परेन, बहुदल पुनःस्थापनापछि कांग्रेसभित्र गिरि स्वस्फूर्त गणेशमान र भट्टराई लबीमा सामेल थिए । उनीहरू दुवैको देहावसानपछि अनवरत रूपमा शेरबहादुर देउवाको पक्षमा उभिए । धेरैले तर्क गरेका छन्– उनी राजनीतिमा स्पेस हुनुपर्छ भन्ने मान्थे । त्यही स्पेसको मोहले उनलाई गणेशमानदेखि भट्टराई हुँदै अन्तिम श्वास फेर्दासम्म पनि देउवासँग उभ्यायो । गिरि उभिएको राजनीतिक स्पेसको एथिकल इन्टेलेक्चुयल ग्राउन्डसँग उनले व्याख्या गर्ने समाजवाद र अरूले भन्ने मार्क्सवादी पण्डितको खिताब के–कति मेल खान्थ्यो, मलाई थाहा छैन । निःसन्देह मुलुकले प्रदीप गिरिजस्तो एक जना बेजोड विद्वान् गुमाएको छ ।
भावपूर्ण श्रद्धाञ्जली ।

कोसेली

वर्षामासका देउडा गीत

- नन्दकृष्ण जोशी
गौरा पर्वमा सहभागी महिला

आदिम संस्कृति र मौलिक पहिचान भएको देउडाले सिंगो नेपाललाई सांगीतिक उज्यालो दिइरहेको छ, केवल काली–कर्णाली क्षेत्रलाई होइन । वर्षैभरि गाइने अनेक यामका देउडा गीत थुप्रै गायक–गायिकाले गाइरहेकै छन् । मैले २०३४ सालदेखि नै रेडियो नेपालमा देउडा गाउँदै र यसको प्रचार गर्दै आएको छु । अहिले त थुप्रै देउडा गायक–गायिकाको आगमन भइसकेको छ । खासमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सांस्कृतिक–सांगीतिक क्रान्ति देउडा गीतबाटै भएको हो । यसको परिणाम अहिले देउडा संगीत–संस्कृतिको धरातल अझै फराकिलो बन्दै छ ।
मूर्त–अमूर्त संस्कृतिसँग जोडिएको लोकविधा हो– देउडा । यसका धेरै भाका छन् । ऋतु परिवर्तनसँगै देउडाका धेरैथरी गीत गुन्जिन्छन् जनजनमा । साहित्यका सबै रस र संगीतका सबै राग देउडामा छन् । भूगोल, समाज र परिस्थिति अनुसार गीत र भाकाहरू जन्मिन्छन् । देउडासँगको मेरो ४५ वर्षे अनुभवले भन्छ– मार्मिक र ऐतिहासिक गीत कहिल्यै मर्दैनन् ।
...
आउनुस् अब वर्षामासमा गाइने केही देउडा गीतमाथि विमर्श गरौं । आकाशको कालो बादलबाट झरेको वर्षेझरीका गीत, धर्तीमा बग्दै गरेका नदी, गाड र झरनाको मीठो आवाजसँगै जन्मेका गीत वास्तवमा वर्खामासका गीत हुन् । रोपाइँ गर्दा, खेतमा साँउ हाल्दा (अनावश्यक झारपात उखेलेर फाल्ने चलन), गोठालो जाँदा, गाईबस्तु चराउँदा, बाढी–पहिरोले जनधन नोक्सानी गर्दा गाइने गीत नै खासमा बर्खायामका गीत हुन् ।
लेक्पानी बर्सन लाग्यो दाउरा वाल तारु ।
मन् अर्‍यै मन्दिरजसो जोवन राख्यै फारु ।।
पानी परेपछि जाडो हुन्छ, आगो बाल्न खोजे पनि भिजेका दाउरा बल्दैनन्, तर धैर्य गर्नुपर्छ । विपत्ति आउँछ जीवनमा, त्यस्तो बेला मनलाई मन्दिरजस्तो पवित्र राख्न सक्नुपर्छ, जोवन खेर फाल्नु हुन्न, फारु (बचाउनु) गर्नुपर्छ । अमरकोष ग्रन्थमा धेरै अर्थ लाग्ने शब्द उल्लेख गरेझैं देउडा गीतमा पनि बहुअर्थ लाग्छन् ः
वरिषा मासको लाउन्या छिटुवाको जामा ।
तेरो रिथी मेरो कली काँग्यो भैंसी आमा ।।
सेतो कपडा छिपेर लगाउँछन् भने त्यसलाई छिटुवाको कपडा भनिन्छ । कुनै बेला हाटबाट हटारुहरू नुन, गुढ, तम्माखुसँगै छिटको कपडा ल्याउने गर्थे । वर्षामासमा पुरुषहरू त्यही कपडा लगाएर रोपाइँ गर्थे । गाईबस्तु चराउन जाँदा, भैंसी गोठालो लाग्दा लगाइने त्यो कपडा आजकाल उति देखिन्न । दूध दिने भएकीले भैंसीलाई आमा भनिएको हो । प्रेमिका या मन परेको मानिसलाई ‘कली’ भनिन्छ गीतमा । बाउरु गोठालोले भैंसीलाई सम्बोधन गर्दै तिम्री मालिक्नी, मेरी प्रियसी कहाँ गएकी होलिन् भन्दै प्रश्न गर्छन् । (यो गीत स्व. वीरेन्द्रबहादुर सिंहबाट सापट लिएको हो, जो भूपू मन्त्री हुनुहुन्थ्यो ।)
भाँड्खोलो बौलाउन लाग्यो साँघु छैन तर्न ।
वर्षामास चुइन्या घर पडा लाइग्या सर्न ।।
बझाङ तलकोटको भाँड्खोलो साउनमा बौलाएर आयो, तर साँघु छैन । कसरी तरेर काममा जाने ? स्लेटले छाएका घरका पडा (स्लेट) सरेर घरभित्र पानी चुहिइरहेको छ, लोग्ने मानिस घरमा छैन, महिलाले पाखो (छानो) मा जान मिल्दैन । अब के गर्ने भनी आफैंले प्रश्न गरी चित्त बुझाउने गीत हो यो ।
म पारी गै झान्या छिया निथ्रपानी निथ्र ।
म जसो दुखारी कोइनाई चौध अञ्चल भित्र ।।
काम गर्न खोलापारि जानुपर्ने, तर तर्नर् साधन छैन । घनघोर पानी परिरहेको छ, अब के गर्ने ? गीताङ्गी भगवान् इन्द्रलाई मनमनै पुकार्दै, ‘ए पानी ! अब निथ्र’ (कम हुनु) भनी विनय गर्छन् । तर, पनि पानी रोकिँदैन अनि आफूजस्तो दुखारी १४ अञ्चलभित्र कोही रहेनछन् भनी दुःख हुन्छन् ।
कर्णालीउदो लेदो बग्दो भेरी बग्दो फिन ।
बाल्कालैका बौला दुःख कैको खायाँ रिन ।।
वर्षा–हिउँद नभनी सधैं भारी बोकेर पेटभरि खान नपाइने, बालकालदेखि नै बौला (धेरै) दुःखले कहिल्यै छाडेन । हे भगवान् ! पूर्वजन्ममा कसको रिन खाएको रहेछु भनी मनोभाव व्यक्त गरिएको छ यस गीतमा । साथै कर्णालीमा लेदो बगेर कैलालीको टीकापुर, भजनी, बर्दियाका नदी छेउछाउका मलिला धानका फाँटहरू पुरिदिएको छ, भेरीमा फिन बगेर वर्षामासमा पिउनयोग्य देखिँदैन भन्ने बहुअर्थ बोकेको गीत हो यो ।
स्याउली सोत्तर केइ पाइँदैन काट्याको वन पनि ।
मेरै जति मान्दो छ कि साई तम्रो मन पनि ।।
वर्षामासमा मल जम्मा गर्न स्याउली सोत्तर काटेर गोठमा राख्ने चलन छ । गाईबस्तुले गोब्य्राएपछि खेतीपातीका लागि राम्रो मल हुन्छ, तर सबैले स्याउला काटेर रूख नाङ्गो भइसके, अझै आजभोलि त कबुलियत वन, पालेका वनका कारण स्याउला काट्न पाइँदैन । वर्षामासमा कामको बोझ छ, तर समस्या झन् गाढा छ । ‘साई’ (प्रेमी) यस्तो बेला तिम्रो मन पनि मेरो जत्ति नै मायालु छ कि ? कामप्रति सचेत छ ? भनेर कविले गीतमा भावना पोखेका छन् ।
झुनझुन्या वरषु लाग्यो काट्या बाटो दर्की ।
यसाई दिन् गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ।।
काटेको बाटामा पनि दर्केर आएको पानीले क्षति पुर्‍यायो । झुन्झुन् गरी आएको पानीले दुःख दियो । यस्तै दुःखका दिनहरू सम्झेर दिन बिताउनुपरेको छ । सुदिन आउलान् कि यस्तै दिनहरू बित्लान् ? गीतकार कल्पना गर्छन् ।
कान्या कुहिरो लोटी आयो भैंसी बान्दा बान्दा ।
जीउ झुराई माछीको काँडो साईको सुर्ता मान्दा ।।
वर्षामासको कुहिरोले जमिन पूरै ढाकेको छ । लेकमा चर्ने भैंसीलाई दाम्लोमा बाँध्न पनि गोठालोलाई कठिन भयो । यस्तो बेला साई (प्रियसी) को याद धेरै आयो । साईको यादले शरीर झुरेर (दुब्लाएर) माछाको काँडाजस्तै मसिनो भएको छ । वर्षाका कारण भेट गर्न पनि सकिँदैन भन्ने आशयको गीत हो यो ।
कालीको लड्कन्या माछो कर्णालीका भेल ।
को आयो बिरानु माइस मेरा हौस्या खेल ।।
महाकाली नदीमा रमाउने माछो कर्णाली नदी कसरी आइपुग्यो ? गीतकार प्रश्न गर्छन् । देउडा, गीत मात्रै होइन, पाइतालाप्रधान खेल पनि हो, जुन खेलमा हजारौ मन मिलेका हुन्छन् । यस्तो खेलमा बिरानो मान्छे कताबाट आयो ? गीतांगीको प्रश्न छ ।
साउनका अँध्यारी रात झुपुझुपु ब्याइझा ।
मेरी माया मान्या भया अब घर आइझा ।।
साउनको अँध्यारो रात देखेर किन हो कुन्नि निद्रा पनि लाग्दैन । झुपुझुपु (छिटोछिटो) ब्याइझा (उज्यालो हुनु) अर्थात् अन्धकार हटेर गइहाल, परदेसिएको श्रीमान् अब घर आइहाल भन्छ यो गीतले ।
माल हिउँ पर्वत कुहिरो कालो मेघ वर्षंदो ।
अब कहिले हुने होला दुःखी मन् अपुरो ।।
अग्ला डाँडामा र नदीका खोंचमा कुहिरोले नचुमी, कालो मेघले आकाश नढाकी पृथ्वीमा पानी पर्दैन । जति नै काम गरेपनि पहाडी खण्डमा खान पुग्दैन । गरिब झन् गरिबीको रेखामुनि पस्दै छन्, महँगी बढेको बढ्यै छ । यो मनको दर्द कसले सुनिदिने होला ? यस गीतमा एक गरिबको वेदना पोखिएको छ ।
...
देउडा गीत प्रकृति हो, संस्कृति हो र मान्छेको जिन्दगी हो । देउडा बन्न गीतका २ चरण हुनु आवश्यक छ । दुवै हरफमा १४ अक्षर हुनु आवश्यक छ । एकल वा दोकल व्यक्तिले गीतको शैलीमा भाका हाल्छन् भने त्यो मीठो गीत बन्छ । पाइताला मिलाएर, डेढी कदम उचालेर, कुममा कुम जोडी, हातमा हात मिलाई भाका (लय) अनुसार घुमीघुमी गीत गाइन्छ भने ती गीत त्यसबेला खेल (नृत्य) बन्छन्, जुन गीत सवाल जवाफमा आधारित हुन्छन् । गीतको गहिराइमा पुगेपछि समय बितेको थाहै हुँदैन । रात–दिन त्यही खेलमा घुमी–घुमी गाइराखेका हुन्छन् खेलाडी । त्यसबखत गीतमा हारजित हुन्छ । गीतमा मान–प्रतिष्ठा लुकेको हुन्छ । जितेको खेलाडीलाई रुपैयाँको र फूलको माला लगाइदिने चलन वर्तमानमा बढ्दै छ । देउडा सामान्य लोकशास्त्र होइन, यो अलिखित महाकाव्य पनि हो । केवल सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकसंगीतको चिनारी मात्रै नभई देशकै गौरवशाली सांस्कृतिक चिनारी हो देउडा ।

(संस्कृतिविद् जोशी देउडा लोकगायक हुन्)

Page 14
कोसेली

निवर्तमान 'देवीदेवता'

जीवित बालिकालाई कुमारी मानेर पूजा–आराधना गर्ने चलन अरु नगरमा पनि छ । तर, जीवित बालकलाई श्री गणेश र श्री भैरवका रुपमा पूजा गर्ने परम्परा काठमाडौंमा मात्रै छ ।
- सुरेश किरण

एकपटक राजा प्रताप मल्ल हनुमानढोकाभित्र बनाउन लागिएको पोखरीका लागि पानी खोज्दै हिँडेका रहेछन् । खोज्दाखोज्दै उनले रानीबारीतिर एउटा मुहान भेट्टाए । र, त्यहीँबाट नहर खनेर हनुमानढोकासम्म पानी ल्याउने योजना बनाए । त्यस योजनामा काम गर्दा उनी लामै समय रानीवन बस्नुपर्ने भएछ । त्यही बेला इन्द्रजात्रा पनि आइहाल्यो । जात्राका बेला आफू दरबार नभए पनि प्रताप मल्लले जात्रा मनाए, रानीवनमै बसेर (डानियल राइट, हिस्ट्री अफ नेपाल, सन् १८७७) ।
नेसं ८०८ तिर काठमाडौंबाट भागेर भक्तपुर लुक्न गएका भारदार भागिराम काजीलाई ‘सुपुर्दगी गर’ भनी पाटन र काठमाडौंका काजीहरूले भक्तपुरलाई अनुरोध गरे । तर, भक्तपुरले सुपुर्दगी गरेन । त्यसैले भागिरामलाई पक्रिन पाटन र काठमाडौंका काजीहरूले भक्तपुरमा आक्रमण गरे । युद्ध भइरहेकै बेला इन्द्रजात्रा सुरु भयो । काठमाडौं र पाटनका काजीहरू युद्ध स्थगित गरी काठमाडौं फर्किए र धुमधामसँग इन्द्रजात्रा मनाए । अनि जात्रा सकेपछि फेरि आक्रमण गर्न गए र भागिरामलाई फिर्ता लिएर आए
(पं. देवीप्रसाद लम्साल, भाषा वंशावली (दृतीय भाग), विसं २०२३) ।
नेपाली इतिहासमा मल्लकालीन राजाहरूका लागि इन्द्रजात्रा कति महत्त्वपूर्ण पर्व रहेछ ? माथिका दुई दृष्टान्तले नै सविस्तार वर्णन गर्छन् । मल्लकालमा इन्द्रजात्रा अत्यन्तै महत्त्वसाथ मनाउने गरिन्थ्यो भन्ने कुरा त्यस समयका थुप्रै अभिलेखमा इन्द्रजात्राबारे उल्लेख गरिएबाटै थाहा हुन्छ । मल्लकालीन नेपालका धेरै स्थानमा त्यस्ता धेरै शिलापत्र प्राप्त भएका छन्, जसमा इन्द्रजात्रा मनाउन जग्गा आयस्ता राखी गुठीको समेत व्यवस्था गरिएको छ (डा. अजयक्रान्ति शाक्य, सुरेश किरण मानन्धर, इन्द्रजात्रा, विसं २०७७) ।


मल्लकालमा इन्द्रजात्रा भव्यतापूर्वक मनाउने क्रम अन्तिम मल्ल राजा जयप्रकाशको समयसम्मै जारी रह्यो । जयप्रकाशले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो– जीवित देवी श्री कुमारीको रथयात्रा । श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको छ । जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ । रथयात्राको अघि–अघि जीवित देवताहरू श्री गणेश र श्री भैरवको रथ पनि तानिन्छ । जीवित बालिकालाई कुमारीका रूपमा पूजा–आराधना गर्ने चलन काठमाडौंलगायत पाटन, भक्तपुर र अन्य नगरमा पनि छ । तर, जीवित बालकहरूलाई श्री गणेश र श्री भैरवका रूपमा पूजा गर्ने परम्परा भने काठमाडौंमा मात्रै छ । यो परम्परा स्थापना पनि जयप्रकाश मल्लले नै गरेका थिए ।
जीवित देवी श्री कुमारी काठमाडौंका शाक्य कुलपुत्रीमध्येबाट छनोट गरिएजस्तै श्री गणेश र श्री भैरव पनि काठमाडौंका शाक्य कुलपुत्रमध्येबाटै छानिन्छ । श्री कुमारी बस्ने छुट्टै आवास (कुमारी घर) को व्यवस्था छ, तर श्री गणेश र श्री भैरव भने आ–आफ्नै घरमा बस्छन् । आफ्नै घरमा बसे पनि उनीहरूले विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । जस्तो ः देवता भइरहुन्जेल कपाल काट्नु हुँदैन, गणेशले सेतो जामा र भैरवले नीलो जामाबाहेक अर्को पोसाक लगाउनु हुँदैन, विद्यालय जाँदा पनि त्यही पोसाक लगाएर जानुपर्छ, जुठो खानु हुँदैन, खोला तर्नु हुँदैन, आफ्नोबाहेक अरूको घरमा रात काट्नु हुँदैन, भोज जानु हुँदैन, शरीरमा रगत आउने गरी घाउ–चोटपटक लगाउनु हुँदैन ।
एकपटक छनोट भइसकेपछि करिब १०–११ वर्षसम्म उनीहरू ‘देवता’ कै आसनमा विराजमान हुन्छन् । ‘देवता’ रहुन्जेल प्रत्येक वर्ष इन्द्रजात्राका तीन दिन रथयात्रा गराइन्छ । मानिसहरू उनीहरूलाई द्यः मय्जु वा द्यः भाजु भनी ढोग्न आउँछन् । पैसा चढाउँछन् । पूजा पनि गर्छन् । देवताकै रूपमा सम्मान गर्छन् ।
अनि देवताको आसनबाट झरिसकेपछि के हुन्छ ? दुई वर्षअघि मात्रै ‘देवता’ बाट निवृत्त भएका निवर्तमान गणेश संवेग शाक्य भन्छन्, ‘त्यसपछि त इजी लाइफमा जाने हो । देवता हुँदा नियममा बस्न गाह्रो छ । अहिले त्यस्तो छैन ।’
उनीसँगै निवृत्त भएका निवर्तमान भैरव रुजन शाक्य भने ‘देवता’ को आसनमा नरहेपछि लाइफ इजी भए पनि पाइरहेको सम्मान भने गुमेको महसुस गर्छन् । भन्छन्, ‘पहिले बाटामा हिँड्दा मानिसहरू हामीलाई पोसाकले नै चिन्दथे । हातमा पैसा राखेर ढोग्न आउँथे । छुट्टै पर्सनालिटी हुन्थ्यो । अहिले बाटो हिँड्दा कसैले चिन्दा पनि चिन्दैन, वास्ता पनि गर्दैन ।’
अहिले दुवै निवर्तमान ‘देवता’ घर–परिवार र टोल–छिमेकमा घुलमिल हुँदै सार्वजनिक जीवन जिउने प्रयासमा छन् । दुई वर्षअघिसम्म आजका दिन यी दुवै ‘देवता’ लाई रथयात्राको तयारीमा भ्याईनभ्याई भइरहन्थ्यो । यसपालि यी ‘देवता’ हरूले वसन्तपुरकै कुनै घरको आँखिझ्याल वा छतमा बसेर श्री कुमारीको रथयात्रा अवलोकन गर्नेछन्, सर्वसाधारणसरह ।
उनीहरूसँगै कुमारीको आसनमा पुगेकी निवर्तमान कुमारी मतिना शाक्य भने आजभन्दा ५ वर्षअघि नै ‘देवी’ आसनबाट निवृत्त भइसकेकी थिइन् । कुमारी रहुन्जेल उनी सधैं कुमारी घरमा थिइन् । त्यसैले सार्वजनिक जीवनमा आउन उनलाई अलिकति गाह्रो भएको थियो । काठमाडौंका टोलहरूको नामसमेत उनलाई थाहा थिएन । तर, परिवार, स्कुल र अन्य आफन्तको सहयोगले उनको त्यो अप्ठ्यारो लामो समय रहेन । अहिले उनी सामान्य भइसकिन् ।


संयोग नै भन्नुपर्छ, हालैको गुँला पर्वमा यी तीनै निवर्तमान देवीदेवता परम्परागत धाः बाजा र बाँसुरी बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्दै गरेका भेटिए । प्रत्येक वर्ष श्रावण महिनाभरि उपत्यकाका बौद्ध नेवारहरू स्वयम्भू महाचैत्यलगायत विभिन्न बौद्ध स्मारक गई स्तोत्र पाठ गर्छन् । र, धाः बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन्, जसलाई गुँला पर्व भनिन्छ । यस वर्ष गुँला पर्वमा यी तीनै जना निवर्तमान देवी–देवता आ–आफ्ना परम्परागत बहाःको बाजा खलःमा सम्मिलित भई स्वयम्भू महाचैत्य परिक्रमा गर्न भेला भएका थिए । मतिना बाँसुरीमा पोख्त थिइन् भने संवेग र रुजन धाः बाजामा निपुण थिए । तीनै जनाले आ–आफ्नै बहाःको गुठीले प्रदान गरेको प्रशिक्षणमा ती बाजा सिकेका थिए ।
संवेग त गितारमा पनि उतिकै सिपालु छन् । ‘देवता’ रहेकै बेला उनले घरमा गितार सिकेका थिए भने एकपटक सिटी सेन्टरमा भएको सांगीतिक कार्यक्रम पनि हेर्न पुगेका थिए । ‘देवता–देवी’ आसनबाट निवृत्त भई सार्वजनिक जीवनमा पदार्पण हुनेबित्तिकै यी तीनै जना सार्वजनिक क्रियाकलापमा पनि अभ्यस्त हुँदै छन् । उनीहरूको सहभागिताले सम्बन्धित बहाःको बाजा खलःको पनि शोभा बढेको बताउँछन् इतुम्बहालका अभियन्ता प्रतापमान शाक्य ।
यी निवर्तमान देवी–देवताको सवालमा एउटा साझा विषय के पनि भइदियो उनीहरू तीनै जना अहिले १७ वर्षका भए । तीनै जना १२ कक्षा पढिरहेका छन् । र, तीनै जनाको मूल विषय कम्प्युटर साइन्स हो ।
निवर्तमान गणेश संवेग शाक्यको भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ । निवर्तमान भैरव रुजन शाक्य ग्राफिक्स डिजाइनर बन्छु भन्छन् । निवर्तमान कुमारी मतिना शाक्य भने सबै क्षेत्रमा कम्प्युटर अनिवार्यजस्तै भइसकेकाले कम्प्युटर साइन्सलाई सीमित क्षेत्रमा राखेर नहेर्ने बताउँछिन् । कुमारीको आसनबाट झरिसक्दा पनि उनी अक्सर कुमारी घर पुगिरहेकै हुन्छिन् । सबै पूर्वकुमारीलाई कुमारी घरमा छोरीको रूपमा सम्मान दिइन्छ । चाडपर्वहरूमा पूर्वकुमारीलाई छोरीसरह नख्त्या बोलाउने गरिन्छ ।
हाल कुमारी घर रहेकी वर्तमान कुमारीसँग पनि निकै राम्रो घुलमिल भएकाले मतिना अक्सर उनीसँग खेल्नैका लागि कुमारी घर पुगिरहेकी हुन्छिन् । वर्तमान कुमारी मतिनालाई ‘द्यःतता (देवी दिदी)’ भनेर सम्बोधन गर्छिन् । हाल मतिना शाक्यसमेत गरी ९ जना पूर्वकुमारी जीवित छन् । पूर्वगणेश ७ जना र पूर्वभैरव ८ जना जीवित छन् । काठमाडौं महानगरपालिकाले जीवित पूर्वकुमारीलाई मासिक १५ हजार रुपैयाँ र जीवित पूर्वगणेश एवं पूर्वभैरवलाई मासिक १२ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।

कोसेली

५२ वर्षअघिको त्यो फर्माइसपत्र

- कुम्भराज राई

मानेभन्ज्याङ गाउँपालिका–१ उँबु तारक्वाममा छ– चौरासे घर । करिब १ सय ५० वर्ष पुरानो यो घर तत्कालीन मुखिया, जिम्वालको हो । हालै यो घरमा आधा दशकपहिले लेखिएका दुई थान रोचक पत्र भेटिए । ती थिए– रेडियो नेपालको कार्यक्रममा लागि लेखिएका फर्माइस पत्र ।
पहिलो पत्रमा मिति ०२७ साल लेखिएको छ । दोस्रोमा भने मिति लेखिएको छैन । फर्माइसमा पेन्सिलले लेखिएको अक्षर र फुलिस्केप हेर्दा दुवै पत्र लेख्ने व्यक्ति एकै हुन् भन्ने अड्कल काट्न सकिन्छ । किनकि हस्तलिपि एउटै छ । फर्माइसकर्तामा जीबी राई र शम्बरबहादुर राईको नाम छ । दुवैले कार्यक्रमका निम्ति दुई–दुईवटा गीत फर्माइस गरेका छन् । दुवैको ठेगाना लेखिएको छ– ‘पूर्व ३ नम्बर उँबु चौरासबाट’ ।
फर्माइस लेख्नेमध्ये जीबी राई को थिए ? कसैलाई थाहा छैन । तर, शम्बरबहादुर राई नजिकैको कटवाल गाउँका हुन् । हाल उनी धरान बस्छन् । प्यारालाइसिसले थलिएका छन् । शम्बरका सहपाठी तथा अधिवक्ता हर्कबहादुर राईका अनुसार, २०२७ सालमा उनीहरू ७ कक्षा पढ्थे । गाउँमा कक्षा ४ सम्म मात्रै पढाइ हुने भएकाले हर्कबहादुर ५ कक्षा पढ्न सदरमुकाम गए भने शम्बर धरान झरे । एसएलसीसम्म पढेका शम्बरले सम्भवतः धरानबाट फर्किर्एका बेला त्यो फर्माइस लेखेको हुन सक्ने अड्कल हर्कको छ ।
उँबु चौरास क्षेत्रमा त्यतिबेला औंलामा गन्न सकिने संख्यामा थियो रेडियो । जुरे गाउँका जयबहादुर राई, सिम्सारका जितमान राई, सिखाईका जगतराम राई, खचापुका भीमबहादुर राई र फकुलका भलबहादुर राईको घरमा मात्रै रेडियो थियो । तीमध्ये भीमबहादुर राई जिम्वाल थिए भने बाँकी सबै लाहुरे । सर्वसाधारणले त रेडियो किन्न सक्ने अवस्थै थिएन ।
उतिबेला गाउँका एक मात्र हुलाकी थिए, शरणबहादुर खत्री । कुनै पनि चिठीपत्र लिन–दिन हुलाकी नभेटी सुखै थिएन । तर, कसरी त्यो फर्माइस मुखिया तालुकदारको घरमा आइपुग्यो ? प्रश्न अनुत्तरित छ ।

फर्माइस सम्झना
उँबुका महाजित राईसँग ०४८ सालपछि नियमित रेडियो नेपालमा फर्माइसे पठाउने गरेको अनुभव छ । उनले पठाएको फर्माइस पत्राचार ढिलोमा दुई महिनादेखि छिटोमा २५ देखि ३५ दिनपछि रेडियो नेपाल, अल इन्डिया रेडियो, रेडियो खर्साङबाट प्रसारण हुन्थे । ‘नियमित श्रोता र चिठी लेख्नेलाई अल इन्डिया रेडियोले पत्रको फर्म्याट हुलाकमार्फत पठाउँथ्यो,’ हाल शिक्षण पेसामा आबद्ध राई सम्झिन्छन्, ‘फर्म्याटमा फर्माइस गरेको गीत, गायक, संगीत, गीतको बोल, सुनाउन चाहेको व्यक्ति र फर्माइसकर्ताको नाम राख्ने ठाउँ हुन्थ्यो । भरेर पठाउनुपर्थ्यो ।’
सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका लोकगायक तथा कलाकार कल्याण राईलाई ४० देखि ५० को दशकमा रेडियो नेपालमा फर्माइस लेखेको सम्झना छ । रुम्जाटारबाट त्यतिबेला रेडियो नेपालमा बारम्बार फर्माइस पठाउनेहरू थिए, लक्ष्मण गुरुङ, सिर्जना गुरुङलगायत । एउटा पत्रमा चारभन्दा बढीको नाम राखेर फर्माइस गर्न नमिल्ने भएकाले कतिपयले आफ्ना प्रेमी–प्रेमिकाको नाम राखेर गीत फर्माइस गर्थे । प्रेमिकाको नाम गाउँघर र परिवारले थाहा पाउलान् भनेर धेरैले उपनामको प्रयोग गर्थे । फर्माइस लेखेपछि कहिले प्रसारण हुन्छ भनेर रेडियामा कान थापेर सुन्ने त्यो जमानाको रमाइलो सम्झिँदा कल्याण अहिले पनि खुसी हुन्छन् ।
चिशंखुगढी गाउँपालिका–३ दियालेका शिक्षक तथा साहित्यकार इन्द्रकुमार श्रेष्ठले ०४४ सालमा घरमा पानासोनिक रेडियो किने । उनले ०४३ देखि ‘दियाले–३ ओखलढुंगा’ ठेगानाबाट अलिअलि फर्माइस लेख्न थालेका थिए । त्यतिखेरको फर्माइस कार्यक्रममा धेरै पत्र सुनिने केही फर्माइसकर्ताको नाम उनलाई कण्ठस्थै छ । ‘वीरगन्ज गहवाबाट कुर्वान हवारी, बेगम ताजमा हवारी, रहमान हवारी’ को नाम बिर्सेका छैनन् । त्यसैगरी ‘काठमाडौं सामाखुसीबाट अरुणबहादुर खत्री, पालुङ शिखरकोट मकवानपुरबाट राजाराम रायमाझी र किसु रायमाझी’ उनले रेडियो नेपालका फर्माइसी कार्यक्रममा धेरै सुनेको नाम हो ।
त्यतिबेला रेडियो नेपालको गीत फर्माइस गर्न हुलाकले पोस्टकार्ड नै छापेको थियो । खाम र पत्र दुवैको काम त्यसैले गर्थ्यो । उनी बीबीसी, सीआरआई (चाइना रेडियो इन्टरनेसनल), रुसबाट प्रसारण हुने रेडियो मस्कोको नेपाली कार्यक्रममा पत्र लेख्थे । ०५२ सालमा रेडियो मस्कोमा कार्यरत प्रस्तोता कृष्णप्रकाश श्रेष्ठले उनलाई लेखेको पत्र अझै सुरक्षित छ । अल इन्डिया रेडियोमा पत्र पठाएपछि उताबाट ‘इन्डिया कलिङ’ नामको पत्रिका र रेडियोको कार्यक्रम तालिका आउँथ्यो । रेडियो भुटानमा पनि फर्माइस कार्यक्रम थियो । ‘मनोरञ्जनको साधन रेडियोभन्दा अरू केही थिएन,’ श्रेष्ठ भन्छन्, ‘सूचना, मनोञ्जनका लागि निर्विकल्प साधन रेडियो थियो ।’
२०२७ देखि २०६२ सम्म रेडियो नेपालमा काम गरेकी धन लामाले २०२८ सालदेखि लामो समय फर्माइसी कार्यक्रम सञ्चालन गरिन् । उनका अनुसार त्यतिबेला सबैभन्दा धेरै फर्माइस पठाउने थिए, वीरगन्ज गहवाका हवारी परिवार हुन् । त्यतिबेला हुलाकबाट बोराको बोरा पत्र आउँथ्यो । उनी आफ्नो कार्यक्रममा पढ्न भ्याइने जति पत्र मुठ्ठीमा झिकेर स्टुडियोमा लैजान्थिन् । ‘फर्माइसको क्रेज यति ठूलो थियो,’ उनले विगत सम्झिँदै भनिन्, ‘आफ्नो नाम रेडियोमा सुन्नु ठूलै कुरा थियो ।’
तर, समय उस्तै रहेन । एउटै जिल्लामा दर्जनौं रेडियो सञ्चालनमा आए । पञ्चायतकालसम्म रेडियो ऐन २०१४ अनुसार रेडियो बजाउन लाइसेन्स लिएर वार्षिक नवीकरण गर्नुपर्ने जमाना समयसँगै छुट्यो । प्रविधिले चिठ्ठी–पत्रको प्रयोग पनि घटायो । अब जीबी राई र शम्बरबहादुर राईको फर्माइस इतिहास भइसके ।

कोसेली

स्वाँ माःला स्वाँ !

- शिशिर वैद्य

फुल बेच्न पसेकाहरूका आवाज सहर सुगन्धित बनाउन पर्याप्त हुन्थ्यो कुनै बेला । फूल बेच्नेहरू ठूलो आवाजमा भनिरहेका हुन्थे– स्वाँ माःला स्वाँ...(फूल आयो फूल) ! कान्तिपुर नगरी यस्तै आवाजले ब्युँझिन्थ्यो । सिजनअनुसारका मू स्वाँ, तफ्व स्वाँ, ग्वँग चुली स्वाँ, ह्याँगु स्वाँ, लालुपात्या स्वाँ, लाहुरे स्वाँ, पंखा स्वाँ, अजू स्वाँ, सिन्ह स्वाँ बोकेर गथुहरू सहर पस्थे । अनि घरघर डुल्दै कराउँथे– ‘स्वाँ माला स्वाँ ।’ मन्दिरैमन्दिरको सहर हो– कान्तिपुर । जात्रा सहरको नशा नशामा छ । कसलाई थाहा होला स्वाँको महत्त्व, यो सहरलाई भन्दा बढी ? हल्च्वः (हलचोक) पश्चिम इचंगु गाउँ स्वाँका लागि प्रसिद्ध थियो । इचंगुको आफ्नो प्रसिद्धि विलुप्त भएको छ । स्वाँ क्यबहरू मासिएर घर फलेका छन् अहिले । तथ्यांक भन्छ– फूलको व्यापार बढेको छ, तर उत्पादन कम छ । सहरको माग कोलकाताको फूलले धानेको छ ।
त्यो जमाना अर्कै थियो, जब दाउरेहरूलाई जिस्क्याउँदै गीत गाइन्थ्यो—
कल्चा सिं,
मान्चा जाकी
छँके वया खैला हजुर....
कसलाई याद होला यि गीत ? उपत्यका वरिपरिका जंगलबाट दाउरा बटुलेर स–सानो कलीदेखि ठूलाठूला दलिन बोकेर सहरमा बेच्न आउँथे दाउरेहरू । माटोको घर, माटोकै चुल्हो, कुरो त्यो जमानाको पो हो त । दलिन र दाउरा दुवै अपरिहार्य हुन्थ्यो । घर चलाउन पनि बनाउन पनि ।
‘भाले आयो हजुर भाले’ ढाक्रे डोकामा कुखुरा बेच्न सहर डुल्दै गरेका व्यापारीहरू कुन गाउँबाट सहर पस्थे सहरलाई के मतलब हुथ्यो ! पसिनाले लपक्क भिजेर टलक्क मैल टल्किएको टोपी अनि धूलो टाँसिएको धोती । कुखुरा कुखुरा बास आउँथे ती व्यापारीहरू । अर्धनग्न बालबालिकाहरू भाले जिस्क्याउँदै पछि लाग्थे । कुखुरी काँ बासी भात खाँ... ! ती बालबालिकालाई के थाहा कुखुरा बेच्न सहर पसेका गाउँले व्यापारीका व्यथा ! महाबौद्धमा कुखुरा व्यापारीहरूको हाट लाग्थ्यो । गाउँले व्यापारी र सहरी बिचौलियाबीच मोलमोलाई चल्थ्यो । जसले जसलाई निचोर्न सक्थ्यो ऊ फाइदामा हुन्थ्यो । सहरका व्यापारीको चलाखीअघि गाउँले सोझा व्यापारी लाचार हुन्थे । एक–एक कुखुरा बेचेर सहरमा महँगो बास बस्ने कि एकमुस्ट बेचेर गाउँ फर्किने ? उनीहरू दोस्रो उपाए रोज्थे । सहरमा दाना खुवाएर कुखुरा पाल्न कसरी सक्थे र गाउँलेहरू ?
महाबौद्ध परिसरभित्र अर्कै मेला लागिरहन्थ्यो । चिउराका बोराहरूले महाबौद्ध चोक भरिएका हुन्थे । जुटका बोरामा बेच्न राखिएका हुन्थे थरीथरीका चिउरा । मगमग बास्नाले नै पेट भरिन्थ्यो । सालु बजी, ख्वाटु बजी, टाइचिन बजी, ह्याँगु बजी सहरमा अनेकथरी बजीका सोखिन थिए, छन् अझै । बजी आजभोलि प्याकेटमा आउन थालेको छ । नत्र बोरामा आउँथे । बोराको जमाना सकिएको छ । ब्रान्डिङको जमाना जो छ । जमाना जस्तोसुकै भए पनि परम्परा धान्ने व्यापारी अझै छन् सहरमा । खर्पनमा तरकारी बेच्नेहरू उहिले ठिमीदेखि हिँडेरै आउँथे । एक खर्पन तरकारी बेच्न कम्ता दुःख थिएन त्यसबेला । गाउँ–गाउँ पुगेका सडक र यातायातको विकासले किसानलाई सजिलो बनाएको छ । खर्पन ठिमीदेखि बोक्नु पर्दैन आजभोलि ।
बेसारले शिरदेखि पाउसम्म पहेंलिएको मानिस देख्नुभएको छ ? यस्ता मानिस देखेर जन्डिसका कीटाणु पनि भाग्दो हो । गाउँको शुद्ध बेसार बोकेर सहर पस्दा व्यपारीको रूप यस्तै हुन्छ । गाउँमा मिल थिएनन् ऊबेला । मिल सहरमा हुन्थे, बेसार गाउँमा । बेसार बेच्ने पहेंलिनुमा के आश्चर्य ? सहर पस्ने, बेसार बेच्ने, अनि गाउँ फर्किने । एवंरीतले चलेको उसको दिनचर्यामा उसले सायद आफ्नो असली रूप बिर्सिसकेको होला । बेसार अझै पनि गाउँमै फल्छ । फरक यत्ति हो मिलहरू गाउँ पसेका छन् । बेसार बेच्न आजभोलि सहरका गल्ली–गल्ली धाउनु पर्दैन व्यापारीहरूलाई । मिलहरूले पोका पार्ने मिसिन पनि छन् गाउँमै । तर, गाउँका बेसार रोप्ने, सुकाउने किसान कतार, साउदीतिर मरुभूमि जोत्दै छन् । काभ्रेको खुवादेखि लेलेका दाउरा, छैमलेको नास्पाती र आरु, रसुवाको हिमाली जडीबुटी, खोकनाको तेल, दाउरादेखि दलिनसम्म के बिक्दैनथ्यो सहरमा ? हो, सहरमा के बिक्दैन ? प्रश्न गम्भीर छ । कान्तिपुरलाई यस मानेमा खपतपुरभन्दा पनि हुन्छ । उहिले गाउँका उत्पादन खपत गर्थ्यो, आजभोलि गाउँका मानिस खपत गरिरहेछ, उत्पादन भने चीनको । कन्टेनर भरिएर आउने चिनियाँ सामान उपत्यकामा खन्याएर बेतोड कुद्ने ट्रकहरूले राजमार्गमा तहल्कै मच्चाउँछ बेलाबेला । चिनियाँ मालको डम्पिङ साइट बनेको छ कान्तिपुर ।
गाउँको मुहार फेरिएकाले होला सहरको रूप पनि फेरिएको छ आजभोलि । महाबौद्धमा न चिउराको हाट लाग्छ, न कुखुराको । न खोकनामा तोरी फल्छ, न तोरी बेच्नेहरू सहर पस्छन् । आयातित तोरी पेलेर परम्परा धानेका खोकनावासीलाई के भन्नु र खै ? कान्तिपुर सहरका चिकंमुगः, ध्वखाडोल तेलका सुपरिचित नाम हुन् । लाय्कुसाःले कान्तिपुरको तेल परम्परा धानेको छ । ती पनि आयातित तोरीमै निर्भर भइसके । सुनाकोठीको दहिको प्रख्याति केही बूढापाकालाई भन्दा बढी कसलाई याद होला अब ? नालाका आलुबारीहरूमा ठडिएका पार्टी प्यालेसहरू आयातित आलु तासेर फ्रेन्च फ्राइज सर्भ गरिरहेछन् । दोलखाको मुडे आलुका लागि प्रसिद्ध छ । बजारमा मुडेको आलुको माग उच्च छ । तर, उत्पादन थोरै । पत्ता लगाउनुस कान्तिपुरका बजारमा छ्यापछ्याप्ती पाइने ‘मुडेका आलु’ कहाँका होलान् ?
मरु, मखं, वंघः, असं, न्यत, त्यरलगायतका त्वाहरू बँ पसः राख्नेहरूले ढाकिन्थ्यो उहिले । घरघर नधाउने व्यापारीहरू सहरका प्रमुख चोकहरूमा यस्ता पसः थापेर बस्थे । आफ्नो सामान पसार्थे । सहरको अंग थियो बँ पसः । संस्कृति नै भनिहाल्दा कति विद्हरू रिसाउलान् । तर, बँ पसःलाई कान्तिपुर सहरको सामाजिक रीतिरिवाजबाट हटाएर हेर्दा कहाँ भेटिएला बजी, बेसार, स्वाँ, तुफी र जडीबुटीहरू ? गाउँ र काँठका किसान आफ्ना उत्फादन बित्री गर्न कान्तिपुरका सडकमा ग्राहक कुर्थे । सहर तिनै बँ पसःमा खरिददारी गर्थ्यो । बँ पसः सहरको सामाजिक आवश्यकता थियो । गाउँले व्यापारीको रोजीरोटीको आधार ।
समय बदलिएको छ । महानगरलाई घाँडो बनेको छ– बँ पसः । सहरका फुटपाथ, मठमन्दिरका पेटी, फल्चा, दबु, चुक, ननी, बहाः, बहीलगायतका सम्पदा सबैतिर छन् बँ पसः राख्नेहरू । बँ पसः विश्वमा सबैतिर छन्, स्थानीय निकायले ती बँ पसःलाई निश्चित् समय र स्थान तोकेर बस्न दिन्छन् । बँ पसः राख्नेहरू समस्यामा परेरै सम्भावनाका खोजीमा फुटपाथ र सडकमा पसल थाप्न बसेका हुन् । महानगरले उनीहरूलाई लखेट्न पाउँदैन । बँ पसः को व्यवस्थापन गर्ने जिम्मा महानगरकै हो । असलमा कान्तिपुर नगरी सम्भावना र समस्याको एब्स्ट्राक्ट कोलाज हो, जसले जसरी व्याख्या गरे पनि हुने । जसले जसरी बुझे पनि हुने ।