You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
मुख्य पृष्ठ

गठबन्धनमा गडबड !

- बबिता शर्मा

(काठमाडौं) - झन्डै दुई महिनादेखि ‘म्याराथन’ बैठक गर्दा पनि प्रतिनिधिसभा एवं प्रदेशसभाको सिट बाँडफाँट टुंगो लगाउन नसकेको पाँचदलीय सत्ता गठबन्धनमा गडबड देखिएको छ । गठबन्धनको चौथो ठूलो शक्ति जनता समाजवादी पार्टीले सिट बाँडफाँटका लागि भएका दबाबमूलक गतिविधिप्रति असन्तुष्टि जनाउँदै अन्य दलसँग तालमेलको ढोका खुला गरेको छ ।
सकेसम्म गठबन्धन जोगाएर चुनावमा तालमेल गर्ने, सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने, जुनसुकै दलसँग मिलेर चुनावमा जाने र आफ्नो शक्ति सुरक्षित गर्ने गरी जसपाले विकल्प खुला गरेको हो । पार्टी कार्यालयमा शनिबार बसेको कार्यकारिणी समिति बैठकले सकेसम्म गठबन्धनमै रहने र नभए अन्य दलसँगसमेत तालमेलमा जाने गरी निर्णय लिएको छ । ‘हामी गठबन्धनमा त छँदै छौं तर अरू दलसँग पनि तालमेल गर्न विकल्प खुला गरेका छौं,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने ।
बैठकमा जसपा अध्यक्ष यादवले गठबन्धन र शीर्ष नेताबीच चुनावी तालमेलका विषयमा अहिलेसम्म भएका गतिविधि र प्रगतिबारे ब्रिफिङ गरेका थिए । कांग्रेसले धेरै सिटमा दाबी गर्दा र अन्य दल व्यक्ति व्यवस्थापनमा केन्द्रित हुँदा सिट बाँडफाँटमा समस्या देखिएको यादवको भनाइ थियो । उनले सहमति जुटाउने कोसिस कायमै रहेको र सम्मानजनक अवस्थामा मात्रै बाँडफाँट हुने बताएका थिए ।
जसपाका एक नेताले दलहरूबीच सिट बाँडफाँट टुंग्याउने र आफूले पाएको सिटमा तत्तत् दलले नेता व्यवस्थापन गर्नुपर्ने गरी आफूहरूले राखेको प्रस्तावप्रति अन्य दल सकारात्मक नदेखिएको बताए । उनका अनुसार कांग्रेस, माओवादी र एकीकृत समाजवादी व्यक्ति व्यवस्थापनमा केन्द्रित हुँदा समस्या आएको हो ।
समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन तथा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको एक साता बाँकी रहँदा जसपाले लिएको निर्णयले गठबन्धनभित्र सिट बाँडफाँटमा ठूलै रस्साकसी रहेको जनाउ दिएको छ । जसपा नेताहरूले कार्यदल बैठकमै सहमति जुट्न नसकेका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गरेर जाने विकल्प सोच्नुपर्ने प्रस्ताव गरेका थिए । ‘अहिलेसम्म जहाँजहाँ टुंगिएको छ, त्यो ठीक छ, नटुंगिएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा गरेर जानुपर्छ भन्ने कुरा पछिल्लो बैठकमा जसपाका नेताहरूले गर्नुभएको थियो,’ जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘त्यहीअनुसार पार्टीबाट त्यो निर्णय गर्नुभएको होला ।’
गत साउन २० मा कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बनेको ११ सदस्यीय कार्यदलले विभिन्न चरणमा काम गरेर प्रस्ताव बुझाए पनि शीर्ष नेतृत्वले सहमति जुटाउन सकेको छैन । आइतबारदेखि बिहीबारसम्म दलहरूले लगातार वार्ता गरे तर सिटौलाको नयाँ प्रस्तावपछि शनिबार साँझसम्म पनि बैठक बस्न सकेन । ‘सिटौलाजीले ल्याएको प्रस्ताव गलत थियो, त्यसलाई हामीले अस्वीकार गरिदिएका छौं,’ जसपा अध्यक्ष यादवले भने, ‘न्यायोचित हुने गरी प्रस्ताव ल्याउनुपर्छ भनेका हौं । त्यसयता बैठक बसेको छैन, बस्ने/नबस्ने पनि खबर छैन ।’
यसअघि दलहरूबीच असोज १० मा करिब सहमति जुटेको बताइए पनि त्यसको भोलिपल्ट कार्यदल संयोजक सिटौलाले ल्याएको प्रस्तावपछि विवाद बढेको थियो । गठबन्धनका अर्का एक नेताका अनुसार सिटौलाले बैठकमा कांग्रेस ८७, माओवादी ४३–४५, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चालाई २ सिटको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सबै दलको ‘रिजर्भेसन’ रहे पनि सहमतिनजिक देखिएको माओवादीका महासचिव देव गुरुङको दाबी छ ।
‘पहिला कांग्रेसले नेताहरूबीचमा गरेको एकखालको समझदारीभन्दा पछि हटेर सिटौलाजीको प्रस्ताव आयो, त्यसमा मिलाउनुपर्छ भनेर उहाँहरूले भनिराख्नुभएको छ,’ कार्यदल सदस्यसमेत रहेका गुरुङले भने, ‘तर त्यो सहमतिको धेरै नजिक देखिन्छ । दसदेखि प्रन्ध्र प्रतिशत सिटमा मात्रै सहमति हुन बाँकी छ । अब कार्यदलको तहबाट हुँदैन, पाँच दलका नेताहरू बसेर निर्णय गर्नुपर्छ भनेर जिम्मा लगाएका हौं । त्यसयता उहाँहरू जुटिरहनुभएको छैन ।’
कांग्रेस र माओवादीका लागि अनुकूल प्रस्ताव आएको भन्दै एकीकृत समाजवादी र जसपाका नेताले बैठकमा असन्तुष्टि जनाएका थिए । त्यसपछि दलहरू समानुपातिक सूची मिलाउन भन्दै आन्तरिक काममा जुटेका छन् । ‘सिटौलाजीले ल्याएको प्रस्तावमा सबै सन्तुष्ट हुन नसकेपछि शीर्ष नेता बसेर टुंग्याउने भनेर उठियो,’ जनमोर्चा उपाध्यक्ष पौडेलले भनिन्, ‘त्यसपछि कांग्रेसलगायत दल समानुपातिक सूची सच्याउने तयारीमा लागेकाले बैठक बस्न सकेको छैन ।’
पहिले जितेको क्षेत्र सोही दललाई दिने, गत निर्वाचनको मत र गठबन्धनको मर्मका आधारमा क्षेत्र निर्धारण गर्ने दलहरूले प्रारम्भिक मापदण्ड बनाएका छन् । तर, एकभन्दा धेरै दलले दाबी गरेका प्रतिनिधिसभा र प्रदेशसभाका केही सिटमा अडान कायम रहेपछि समस्या पैदा भएको गठबन्धनका एक नेताले बताए ।
ती नेताका अनुसार प्रतिनिधिसभाका धेरै सिटमा सहमति जुटाए पनि प्रदेशसभातर्फ अझै ठोस प्रगति भएको छैन । कांग्रेसले केन्द्रमा जस्तै एकमुष्ट भागबन्डा गर्न खोजेको छ । अन्य दल त्यसलाई मान्न तयार छैनन् । भिन्दाभिन्दै प्रदेशमा शक्ति सन्तुलन फरक रहेकाले दलहरूका दाबी पनि त्यसैअनुसार छन् । प्रदेश सरकार गठनमा आफूहरूको भूमिका बलियो होस् र सकेसम्म नेतृत्व गर्ने अवस्था बनोस् भन्ने सबै दलको चाहना छ । सिट बाँडफाँटमा सहमति बन्न नसक्नुका पछाडि कांग्रेसको आन्तरिक विवाद पनि कारण रहेको ती नेता बताउँछन् ।

कांग्रेसमा संस्थापनइतर समूहले एक सयभन्दा थोरै सिटमा सहमति नगर्न सभापति शेरबहादुर देउवामाथि लगातार दबाब बनाइरहेको छ । यसबाहेक शेखर कोइराला र महामन्त्री गगन थापा नेतृत्वको समूहले पार्टीमा समानुपातिक र प्रत्यक्षतर्फ ४० प्रतिशत सिट आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ । कोइराला समूह संस्थापन पक्षविरुद्ध औपचारिक आन्दोलनमा समेत छ । दबाबका बीच संस्थापन पक्षले शनिबार आयोगमा समानुपातिक संशोधित बन्दसूची पेस गरेको छ । यसमा आफ्ना माग सम्बोधन नभएको कोइराला समूहका नेताहरू बताउँछन् ।
गत स्थानीय निर्वाचनमा कांग्रेस मधेसमा पहिलो शक्ति बनेको छ तर जसपाले धेरै सिट मागेको भन्दै कांग्रेसले त्यसलाई मान्न नसक्ने बताएको छ । समस्या देखिए पनि समानुपातिकको काम सकेपछि सहमति जुटाउन प्रयत्न हुने गठबन्धनमा आबद्ध दलका नेताहरू बताउँछन् । जनमोर्चा उपाध्यक्ष पौडेलले दलहरूले समानुपातिक सूची हेरफेर गर्ने काम सकेपछि सिट बाँडफाँटमा लाग्ने बताइन् । ‘गठबन्धनमा कुनै खटपट छैन, समानुपातिकतर्फको सूची सच्याउने काम सकिएपछि बैठक बसेर टुंग्याउने भन्ने छ,’ पौडेलले भनिन् ।
सिट बाँडफाँटमा सत्तारूढ गठबन्धनभित्र सहमति नजुटेकामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत असन्तुष्ट देखिन्छन् । ‘भदौदेखि नै हरेक दिनजसो अन्तिम भन्दै बैठक गर्दै आएका छौं तर सहमति जुटेको छैन, कहिले जुट्छ यकिन छैन,’ नेपालले भने ।

 

मुख्य पृष्ठ

सर्वोच्चकै फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशलाई सुविधा

- मातृका दाहाल

(काठमाडौं) - सर्वोच्च अदालतको फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशहरूले सरकारी ढुकुटीबाट गाडी, इन्धन, चालक, कर्मचारी र सहयोगीसहितको सुविधा लिइरहेका छन् । मन्त्रिपरिषद्का पटके निर्णयबाट सरकारले सबै पूर्वप्रधानन्यायाधीशलाई गाडी, प्रतिमहिना एक सय लिटर पेट्रोल, एक जना सहयोगी र नासु तहका कर्मचारी र निवास तथा अंगरक्षकका रूपमा सुरक्षाकर्मी खटाइरहेको हो ।
पूर्वराष्ट्रपति, पूर्वराजा, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायतले सरकारी ढुकुटीबाट मनमौजी सुविधा लिइरहेकामा त्यसको सबैतिर आलोचना भइरहेको छ । यस्ता गैरकानुनी सुविधा लिनेको लर्कोमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सामेल छन् । कानुनको व्याख्या गर्ने सर्वोच्च निकायको सर्वोच्च पदमा पुगिसकेकै व्यक्तिबाट कानुन र अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत सुविधा लिनुले सरकारी स्रोतसाधन दोहन गर्ने मामिलामा सबै एक ठाउँमा उभिएको स्पष्ट हुन्छ ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले मन्त्रिपरिषद्बाट भएका निर्णयका आधारमा जीवित सबै पूर्वप्रधानन्यायाधीशलाई सुविधा उपलब्ध गराइँदै आएको बताए । उनका अनुसार पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, सुशीला कार्की, कल्याण श्रेष्ठ, रामकुमारप्रसाद साह, दामोदर शर्मा, खिलराज रेग्मी, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा, मीनबहादुर रायमाझी, दिलीपकुमार पौडेललगायतले यो सुविधा लिइरहेका हुन् ।
पछिल्लो पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई पनि अवकाशपछि प्रधानन्यायाधीशसरह नै सुविधा दिने निर्णय हालैको मन्त्रिपरिषद् बैठकले गरेको छ । कार्की शनिबारबाट अवकाश भएका छन् । ‘मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएका निर्णयका आधारमा जीवित सबै पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चमार्फत गाडी, इन्धन, चालक, सहयोगी र कर्मचारी कर्मचारी उपलब्ध गराइँदै आएको छ,’ प्रवक्ता पौडेलले कान्तिपुरसँग भने, ‘अहिले पनि यो सुविधा उहाँहरूले लिइरहनुभएको छ, बाँकी विषय अदालत प्रशासनसँग बुझेर मात्रै भन्न सकिन्छ ।’
पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय कानुनविपरीत रहेको भन्दै अधिवक्ता रामचन्द्र पौडेलले २०६८ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमा न्यायाधीशद्वय भरतराज उप्रेती र अवधेशकुमार यादवको इजलासले २०६८ मंसिर २२ मा फैसला गर्दै ‘संसद्बाट कानुन नबनाई मन्त्रिपरिषद्ले पूर्वविशिष्टहरूलाई सुविधा दिनु स्वेच्छाचारी शासन र नागरिकको करमाथिको शोषण’ भनेर व्याख्या गरेको थियो ।

पूर्वराजा, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई कानुन नबनाई दिइएको सुविधा गैरकानुनी हुने ठहर अदालतले गरेको थियो । पूर्वप्रधानन्यायाधीशहरूलाई दिइएको सुविधाबारे फैसलामा भनिएको छ, ‘सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरूलाई प्रदान गरिएको थप सुविधा तथा आर्थिक सहयोगको रकम निजहरूको सेवासर्तसम्बन्धी व्यवस्थाभन्दा थप, अतिरिक्त तथा विशेष सुविधा देखिएको हुँदा यसरी कानुनले निर्धारण गरेको भन्दा बढी सुविधा दिने निर्णय बदर हुने भनी यस अदालतबाट उपरोक्त मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको हुनाले कानुनमा व्यवस्था गरिएभन्दा थप, विशेष वा अतिरिक्त सुविधा वा आर्थिक अनुदान दिने विषयमा कुनै निर्णय भए/गरेको भए यस्ता सम्पूर्ण गैरकानुनी निर्णयहरू उत्प्रेषणको आदेशद्वारा आजका मितिबाट स्वतः बदर हुने ठहर्छ ।’
यससम्बन्धी व्यवस्था संसद्बाट कानुन बनाएर मात्रै व्यवस्था गर्न त्यही बेला अदालतले सरकारका नाममा आदेश दिएको थियो । तर, आदेशको आजसम्म पालना भएको छैन । उल्टै अदालतको आदेशको अवहेलना हुने गरी सरकारले धमाधम पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्टलाई सुविधा दिने निर्णय मन्त्रिपरिषद्बाट गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले सर्वोच्चको फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशहरूले सुविधा लिनु अदालतकै अवहेलना हुने बताए । ‘सर्वोच्चले आफैं नोटिसमा लिएर यस्ता गैरकानुनी सुविधा दिएको विषयमा बोल्नुपर्छ, कानुनको गम्भीर उल्लंघन अदालतबाटै हुनु दुर्भाग्य हो,’ उनले भने ।
सर्वोच्चका प्रवक्ता पौडेलले ११ वर्षअघिको फैसलाले संसद्बाट कानुन बनाएर मात्रै यस्ता सुविधासम्बन्धी व्यवस्था गर्न आदेश दिए पनि अहिलेसम्म त्यस्तो कानुन नै नबनेको बताए । ‘फैसलाले कानुन बनाएर मात्रै सुविधा दिन आदेश दिएको थियो तर अहिले सर्वोच्चमार्फत पूर्वप्रधानन्यायाधीशलाई उपलब्ध गराइएका सुविधा मन्त्रिपरिषद्बाट भएका निर्णयका आधारमा हो ।’
प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतमा न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन २०७४ ले पनि न्यायाधीशहरू अवकाशमा गइसकेपछि ७ दिनभित्र आफूले प्रयोग गरेको सवारी फिर्ता गर्नुपर्ने व्यवस्था छ । पूर्वप्रधानन्यायाधीशहरूले यो कानुन पनि उल्लंघन गरिरहेका छन् । सर्वोच्चले आदेशविपरीत सरकारबाट पूर्वविशिष्टलाई अतिरिक्त सुविधा दिए/नदिएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयबाट अनुगमन गर्न पनि भनेको थियो । तर, यसबारे कतै बाट अनुगमन भएको पाइँदैन । सर्वोच्चको अनुगमन महाशाखालाई पनि आदेश पालना भए/नभएको अनुगमन गर्न भनिएको थियो ।
पूर्वविशिष्टहरूलाई कानुनविपरीत दिइएका सुविधा २०७९ जेठ ३१ मा स्वीकृत ‘उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड–२०७९’ र मन्त्रिपरिषद्बाट दुई वर्षअघि जारी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७७’ को पनि विपरीत हो । सुरक्षा कार्यविधिमा पूर्वप्रधानन्यायाधीशलाई अवकाश पाएको ५ वर्षसम्म प्रहरीका २ र सशस्त्रका ६ सुरक्षाकर्मी र त्यसपछि २ जना आजीवन दिने व्यवस्था छ । तर अधिकांशलाई कार्यविधिविपरीत सुविधा दिइएको छ ।
पूर्वप्रधानमन्त्री खनाललाई २० लाख
सरकार आफैंले बनाएको कार्यविधि र मापदण्डविपरीत पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको स्रोतले जानकारी दियो । सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ मा मात्रै मन्त्रिपरिषद्ले नै नयाँ मापदण्ड जारी गरेको थियो । तर, मापदण्ड जारी भएको ३ महिना बित्न नपाउँदै एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई मन्त्रिपरिषद्बाट निर्णय गराएर २० लाख रुपैयाँ निकासा गरिएको हो । उक्त रकम खनाललाई छिट्टै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।
केही महिनाअघि पूर्वराष्ट्रपति रामवरण यादवलाई मन्त्रिपरिषद्बाटै निर्णय गरेर १० लाख रुपैयाँ दिइएको थियो । यादवले अहिले पनि सरकारी आवास, उपसचिवसरहका कर्मचारी, मासिक ५० हजार रकम, २ वटा गाडी, सहयोगी, चालकलगायत सुविधा लिइरहेका छन् । खनाल र यादव तथा अरू आसेपासेलाई दिइएको रकम र निर्णय भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
पूर्वप्रधानमन्त्री खनाललाई दिन लागिएको रकम पूर्वविशिष्ट व्यक्तिको हैसियतमा दिइँदै आएको सुविधाबाहेक हो । खनालसहित पूर्वप्रधानमन्त्रीहरूले सरकारबाट गाडी, इन्धन, चालक, सुरक्षाकर्मी, अगुवा/पछुवा गाडीलगायत सुविधा लिँदै आएका छन् । यसअघि खनालले उपचार गराउने नाममा सरकारबाट ८० लाख रुपैयाँ लिएका थिए । उनकै नाममा खोलिएको प्रतिष्ठानमार्फत सर्लाहीमा सर्प पाल्न सरकारले खनालको नाममा रहेको प्रतिष्ठानलाई मोटो रकम दिएकोमा विरोध भएको थियो ।
पुरानो कार्यविधिमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष र पूर्वप्रधानन्यायाधीशलाई बढीमा १५ लाख रुपैयाँ, पूर्वउपसभामुख र पूर्वउपप्रधानमन्त्रीदेखि मन्त्री, राज्य र सहायकमन्त्री, पूर्वसांसद, संवैधानिक निकायका पूर्वपदाधिकारीलाई बढीमा १० लाख रुपैयाँ तथा शिक्षा, स्वास्थ्य, सञ्चार, कला/साहित्यलगायत राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका व्यक्तिलाई ७ लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराइने उल्लेख रहेकोमा नयाँ मापदण्डमा ती सबै व्यवस्था खारेज गरिएको थियो । तर, मापदण्ड कार्यान्वयनमा नआउँदै नेता र आसेपासेलाई रकम बाँड्न थालिएको छ ।
गृह मन्त्रालयका अनुसार राहत तथा उपचार खर्चबापत बर्सेनि सरकारी ढुकुटीबाट मन्त्रिपरिषद्ले नेता र आसेपासेलाई करोडौं रुपैयाँ बाँड्दै आएको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १६ करोड ४० लाख ३५ हजार, ०७३/७४ मा २९ करोड ६ करोड ८ हजार र ०७४/७५ मा ३१ करोड ८० लाख २७ हजार रुपैयाँ बाँडिएको थियो । यस्तै २०७५/७६ मा १३ करोड ४ लाख ९५ हजार, २०७६/७७ मा ९ करोड ११ लाख ६७ हजार र २०७७/७८ मा ७ करोड ९३ लाख ६७ हजार रुफैयाँ वितरण गरिएकामा २०७८/७९ को विवरण सरकारले अझै गोप्य राखेको छ ।

मुख्य पृष्ठ

हिले दसैंको सम्भावना

- गोविन्द पोखरेल

(काठमाडौं) - यस वर्ष दसैंमा वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार अक्टोबर २ मनसुन बाहिरिने औसत समय हो । यसपटक सरदरभन्दा ढिला मनसुन बाहिरिने भएको हो ।
मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन निकाल्दै नवमीको दिनदेखि मुलुकका विभिन्न स्थानमा मनसुनी वर्षा सक्रिय हुने जनाएको छ । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा रहेकाले नवमीदेखि नेपालमा उक्त प्रणालीको प्रभाव पर्ने देखिएको विभागका मौमसविद् सुदर्शन हुमागाईंले बताए । ‘अक्टोबर लागिसक्यो, मनसुनी वायु अझै सक्रिय छ,’ हुमागाईंले भने, ‘मनसुनी प्रणाली भनेको हावाको प्रणाली हो । यो प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै आउँछ । अहिले पनि पूर्वबाट पश्चिम हावा बहिरहेको छ । मनसुन बाहिरिन अझै केही दिन लाग्छ ।’
विभागका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तरपश्चिमतर्फ सर्ने क्रममा छ । त्यो चापीय क्षेत्र सर्दै जाने भएकाले नवमीको दिनदेखि नेपालमा प्रभाव देखिने र मनसुनी वर्षा सक्रिय हुने सम्भावना छ । नवमीको दिन देशभर आंशिकदेखि सामान्यता बदली रहने र प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ ।
विजयादशमी (१९ गते) को दिन गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना रहेको मौसमविद् हुमागाईंले बताए ।

एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना छ । विभागले यी दिनमा देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो वर्ष नेपालमा मनसुन उच्च रूपमा सक्रिय हुने समयमै कम वर्षा भएको थियो । जुनदेखि सेप्टेम्बरसम्म नेपालमा मनसुन हुने गरे पनि जुलाई र अगस्ट धेरै पानी पर्ने महिनामा पर्छन् । जुलाईमा औसत ४८३ दशमलव ३ मिलिमिटर वर्षा हुने गरे पनि यस वर्ष ३२५ दशमलव ८ मिलिमिटर मात्रै मापन गरिएको थियो । अगस्टमा पनि औसतमभन्दा आधा वर्षा भएको थियो । अगस्टमा औसत ४४० दशमलव ३ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि त्यो नभएको विभागले जनाएको छ । मनसुनको उच्च समयमा पर्याप्त मात्रामा पानी नपर्दा गर्मी ह्वात्तै बढेको थियो भने केही स्थानमा खडेरी परेको जस्तो देखिएको थियो ।

Page 4
समाचार

उबेलाको बहीखाता

- माधव अर्याल

(पाल्पा) - तानसेन नगरपालिका–२ असनटोलका पुराना व्यापारी सन्तोषलाल श्रेष्ठको घरमा अहिले पनि बुबाका पालाका पुराना बहीखाताहरू सुरक्षित छन् । हाते र अफसेट प्रेसको विकास भएपछि बजारमा आएका बनीबनाऊ लेजर (खाता) होइन, हातैले बनाइएका नेपाली कागजका खाता । सन्तोषका बुबा स्व. गोविन्दलाल एक समय पाल्पा क्षेत्रकै नामुद व्यापारी थिए । बुबाको मृत्युपछि पनि उनले २०२४/२५ सालदेखिका बहीखाता सुरक्षित गरेर राखेका छन्, जसले पाँच दशक पुरानो लेखा प्रणाली बुझ्न मात्रै सघाउँदैन, त्यतिबेलाको मूल्यसूची र व्यापार शैली पनि
बुझ्न सघाउँछ ।
‘हिसाबकिताब राख्ने मुन्सी पनि थिए, बुबा आफैं पनि लेखेर राख्ने गर्नुहुन्थ्यो,’ तानसेन नगरप्रमुखसमेत रहेका श्रेष्ठले भने, ‘अहिले पनि हामीले पुराना बहीखाता जस्ताको तस्तै राखेका छौं ।’ उनका अनुसार त्यतिबेला कागज भारतबाट आउँथ्यो । भारतबाटै ल्याएका कागजलाई हातैले खाता बनाइन्थ्यो । ती खाता कागज काटेर, सिलाएर बनाउने हो । व्यवस्थापन विषयमा स्नातकोत्तर श्रेष्ठले पुरानो खातापाता प्रणालीबारे बुझाउँदै भने, ‘पहिला हरेक वर्षको लक्ष्मीपूजालाई आर्थिक वर्ष मान्थे । वैशाखबाट नयाँ वर्ष हुन्थ्यो । सरकारी आर्थिक वर्ष असार मसान्त हुन्छ । ४० वर्ष पुगेपछि भने त्यस्ता बहीखाता गण्डकीमा लगेर सेलाउने
चलन थियो ।’
पुरानो व्यापारिक केन्द्र तानसेनमा बुटवलबाट मान्छेलाई बोकाएर सामान ल्याइन्थ्यो । खच्चडबाट बोकाएर ल्याउने पनि प्रशस्त थिए । २०२३/२४ सालपछि भने जेनतेन बुटवलबाट गाडी चल्न थाल्यो । तानसेन–५ कैलाशनगरका पुराना व्यापारी ७७ वर्षीय चन्द्रिकाप्रसाद सिमांगैडाले भने, ‘गाडी चले पनि बाटो निकै अप्ठेरो भएकाले हिँडेर व्यापार गर्नेहरू हुन्थे ।’ २०२३ देखि २०३८ सम्म तानसेन बजार गुल्जार थियो । त्यतिबेला पश्चिम पहाडका स्थानीयहरू खरिदारी गर्न यहाँ आउँथे । पछि गुल्मीको रिडी, खर्ज्याङ, रुद्रवेणीलगायत स्थानमा पनि बजार सुरु हुन थाल्यो । ती ठाउँमा तानसेनबाट खच्चडमा बोकाएर सामान लगिन्थ्यो । गाउँगाउँका त्यस्ता व्यापारी र उधारो लैजाने हटियाका व्यापारीका बहीखाता भने तानसेनका व्यापारीसँग हुन्थ्यो ।
सिमांगैडाका अनुसार गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जाको पश्चिम, बेनी, मुस्ताङसम्मका स्थानीय व्यापारी तानसेनमा आउथे । उनले भने, ‘घरलाई आवश्यक सामान र गाउँका लागि थप सामग्री लैजाने छोटे व्यापारी धेरै थिए ।’ उनीहरूको बहीखाता लगत तानसेनकै ठूला व्यापारीले राख्थे । त्यही बहीखाताअनुसार नै ‘लगाना’ उठाउन उनीहरूका गाउँ पुग्नुपर्दथ्यो ।
लगाना उठाउन पनि झन्डै एक महिना गाउँ डुल्नुपर्ने हुन्थ्यो । व्यापारीहरूका अनुसार कम्तीमा २७/२८ दिन लगाना उठाउन गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पर्वतसम्म पुग्ने गर्थे । व्यापारी श्रेष्ठका अनुसार तानसेनबाट रानीमहल हुँदै बिर्घा, मिर्मी, पुर्तिघाटको रुट थियो । पर्वतको केही भाग पुगेर शान्तिपुर झर्ने गरिन्थ्यो । गुल्मीको खर्ज्याङ, अर्घाखाँचीको सन्धिखर्क, प्यूठानबाट गुल्मी, बागलुङसम्म पुगिन्थ्यो । कतिपय ठाउँमा लगाना उठाउन जाने घरमा खाना खुवाउँथे । ‘चिउरा र छोप लिएर गइन्थ्यो,’ उनले भने, ‘बाटोमा जे पाइन्छ तेही खाने गरिन्थ्यो ।’ पेन्सन क्याम्प चल्ने समय, ऋषि पञ्चमीलगायतको समय मिलाएर बहीखाताअनुसार लगाना उठाइन्थ्यो । ठाउँठाउँमा बैंकबाट ड्राफ्ट गर्ने सुविधा थियो । २० देखि २८ दिनसम्म घुम्दा १ लाख ५० हजारसम्म पैसा उठ्थ्यो ।
तानसेन घिउ संकलनका लागि प्रख्यात थियो । केही व्यापारीले गाउँबाट जडीबुटी पनि संकलन गरेर ल्याउँथे । भारतको बनारस, लखनउ, गोरखपुरलगायत व्यापारी घिउ खरिद गर्न तानसेन आउँथे । ‘हामीलाई आवश्यक सामान भारतबाट मगाइन्थ्यो,’ सिमांगैडाले भने, ‘हामीकहाँबाट घिउ र जडीबुटी लैजान्थे ।’ उनीहरूले ल्याएको सामानको बिल, यहाँबाट गाउँगाउँमा बिक्री गर्नेको हिसाबकिताब भने बहीखातामार्फत हुन्थ्यो ।
पुराना बहीखाताहरू पल्टाउँदा उतिबेला पनि हिसाबकिताब अहिलेजस्तै परिपक्व देखिन्छ । सिमांगैडाका अनुसार बहीखातामा दोहोरो लेखा प्रणाली नै हुन्थ्यो । सामान खरिद गरेका बिलअनुसारको रेकर्ड हुन्थ्यो । ‘बहीखातामा लेखिएको हिसाबकिताब सबैले बुझ्ने गरी नै हुन्थ्यो,’ उनले भने, ‘जसले गर्दा सामान खरिदबिक्री, लगाना उठाउन बाँकी सबै लेखिएको हुन्थ्यो ।’ यति मात्र होइन, बहीखातामा दैनिक हिसाबकिताब हुन्थ्यो । कति सामग्री कुन मितिमा बिक्री भयो । कति पैसा त्यस दिन खर्च भयो । कहाँको व्यक्तिले के कति सामान लग्यो भन्नेसमेत सबै लेखिएको हुन्थ्यो ।
नेवार समुदायको बाहुल्य रहेको तानसेनका कैलाशनगर र नारायणटोल नेवारी व्यापारीको मुख्य नाका जस्तै थिए । अधिकांश ग्राहक र छोटे व्यापारी भने ब्राह्मण क्षत्री समुदायका हुन्थे । मगर, दलित समुदायका पनि हुन्थे । तर उनीहरूबाट भने ब्राह्मण क्षत्रीले नै खरिद गरेर ल्याउँथे । अधिकांश मगर, दलित समुदायका व्यक्ति भने भरियाका रूपमा आउने गर्थे । ‘धेरै भरिया भनेको मगर समुदायका हुन्थे,’ तानसेन भीमसेनटोलका व्यापारी सदिश श्रेष्ठले भने, ‘बुबाहरूले व्यापार गरेको हेर्दा
अचम्म लाग्थ्यो ।’
तानसेनका असनटोल, भगवतीटोल, सिल्खानटोल पनि व्यापारीकै टोल थियो । तानसेन–३ का पुराना व्यापारी हरि श्रेष्ठले आफूले २०२० सालदेखिका बहीखाता देखेको बताए । ‘बुबा व्यापारी भएपछि हामीले राख्नैपर्ने हुन्थ्यो,’ उनले भने, ‘हरेक वर्ष पूजा गर्ने चलन थियो । तराजु, ढक, बहीखाता सबैलाई हामीले भगवान् जस्तै मानिन्थ्यो ।’ बहीखाताको हिसाब हेरेपछि सबै कुरा प्रस्ट हुन्थ्यो ।
इतिहाविद्हरूका अनुसार एक समय तानसेन नुन ओसार्ने बाटोको रूपमा मात्रै चर्चित थिएन, नुनको कारोबारस्थल पनि थियो । चन्द्रशमशेरको पालाअघि भोटे नुन खाने प्रचलन थियो । भोटबाट आएको नुनको हिसाबकिताब पनि व्यापारीहरूले बहीखातामै राखेको देखिन्छ । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार भोटे नुन लिएर आउनेहरूले यताबाट अन्य सामान लिएर जान्थे । चन्द्रशमशेरको पालामा भोटसँगको सम्बन्ध बिग्रिएपछि भने तानसेनमा भारतीय सावरमतिबाट ल्याएको नुन प्रयोगमा आएको देखिन्छ । इतिहासविद् श्रेष्ठका अनुसार वर्षमा एक पटक हरेक घरबाट कम्तीमा एक जना मानिस कृषिउपजको भारी बोकेर नुनसँग सटही गर्न आउने गर्थे । लामो समयपछि आउने भएकाले केही रकम बाँकी हुन्थ्यो । त्यो पैसा तिर्न ‘डे बुक’ले मात्र पुग्थेन । बहीखाता बनाएर राख्नुपर्ने बाध्यता हुन्थ्यो ।

महाजनी बहीखाता
इतिहासविद् श्रेष्ठका अनुसार ‘महाजनी बहीखाता’ भारतीय खाता प्रणालीबाट विकसित भएको हो । पहिला भारतीय व्यापारीहरू तानसेनसम्म सामान लिएर आउँथे । उनीहरूले नै यहाँका व्यापारीलाई महाजनी बहीखाता राख्न सिकाएका हुन् । ‘भारतीय पद्धतिअनुसार हिसाबकिताब राख्ने प्रणालीको यहाँ पनि विकास गराए,’ उनले भने, ‘प्राचीनकालदेखि ने महाजनी बहीखाता हुन्थ्यो । सोही अनुसार व्यापारको हिसाबकिताब राखिन्थ्यो ।’
व्यापारीलाई ‘महाजन’ भनिने भएकाले पनि खातालाई ‘महाजनी बहीखाता’ भन्ने गरिएको बुझिन्छ । पुराना बहीखाताको बाहिरपट्टि ‘सरस्वती’ ‘शुभलाभ’ लेखिएको देखिन्छ । व्यापारीहरूले हरेक वर्षको बहीखाता छुट्याएर कोरा कपडाले बाँधेर राख्ने गरेको देखिन्छ । महाजनी बहीखाताको प्रयोग नेपाली कांग्रेसको २००७ सालको आन्दोलनताका समेत प्रयोग गरेको देखिन्छ । निर्मलका अनुसार आन्दोलनको सबै खर्च प्रणाली कांग्रेसले बहीखातामा राखेको बताउँदै भने, ‘जिल्लाका विभिन्न स्थानबाट आन्दोलनमा आउनेहरूको खाना, बास खर्चको हिसाबकिताब बहीखातामै राख्ने चलन थियो ।’
इतिहासविद् श्रेष्ठका अनुसार त्यसबेलामा व्यापारीदेखि सबैले बहीखाता राख्नुपर्ने बाध्यता थियो । नेवारी व्यापारीहरूको ‘बाबुछोराको हरहिसाब, आमाछोरीको अैंचोपैंचो’ कहानी बहीखातामा पनि मिल्न जान्छ । यो प्रणाली पूर्णतया वैज्ञानिक र दोहोरो लेखा प्रणालीको सिद्धान्तमा आधारित रहेको श्रेष्ठ बताउँछन् । कौटिल्यको अर्थशास्त्र र मनु स्मृति नाम ग्रन्थमा पनि बहीखाता प्रणालीका विषयमा लेखिएको
उनले बताए ।
‘उधारो लिएर गएका व्यापारीहरू एक वर्षमा बल्ल आउँथे,’ श्रेष्ठले भने, ‘त्यसैले पनि व्यापारीहरूलाई बहीखाता राख्नैपर्ने बाध्यता थियो ।’ पहाडी मात्र होइन, हिमाली जिल्लाबाटसमेत तानसेनमा व्यापारीहरू खच्चड लिएर आउँथे । कतिपयको कारोबार उधारोमा पनि हुन्थ्यो । बहीखाता नराख्ने हो भने हिसाबकिताब नै थाहा हुँदैनथ्यो । कतिपयले भने ‘डे बुक’ मात्र राख्ने पनि गर्थे । तर जसले भारतीय व्यापारीसँग कारोबार गर्थे ती सबैले बहीखाता नै प्रयोग गर्थे ।

त्यो ढाक्रे बजार
२०२३ सालअघि तानसेनमा नुवाकोट–झुम्सा–सिस्ने–मस्याम भएर सामान आउँथ्यो । यसरी सामान लिएर आउनेहरूलाई तानसेनका व्यापारीले ‘ढाक्रे’ भन्थे । यसरी आएको सामान गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दीसम्मका जनताहरूले खुद्रामा किनेर लैजान्थे । ‘पाँच/सात दिनसम्म पैदल हिँडेर ढाकरभरि सामान लिएर आउनुपर्दथ्यो,’ संस्कृतिका जानकार राजेन्द्रगोपाल सिंहले भने, ‘त्यसैले उनीहरूलाई व्यापारीले ढाक्रे भन्थे ।’
पुराना बजार भएकाले तानसेनका अक्सर घरहरूमा पसल थियो । कैलाशनगर, सित्तलपाटी, असनटोल, टक्सार, वसन्तपुर, नारायणस्थानमा सामान लिन आउने ढाक्रेहरू बस्ने पौवा थिए । अधिकांश व्यापारीले ढाक्रेका लागि छुट्टै बस्ने टहरो बनाउने चलन थियो । उनीहरूका लागि दाउरा र खाने खर्चसमेत छुट्याएर दिने चलन थियो । हरेक पटक प्रायः एकै व्यक्ति आउने भएकाले चिनजान राम्रै हुन्थ्यो । उनीहरूका लागि बहीखाता बनाएर राखिन्थ्यो । सोही खाताअनुसारको लगाना उठाउन जाने गर्थे । तानसेनको कैलाशनगर, बतासे, प्रभास, बारुदखान क्षेत्रमा खच्चड, घोडाको लस्कर हुन्थ्यो ।
ढाकर बोकेर सामान लिन आउने ढाक्रेको ताँती अचम्मको हुन्थ्यो । ‘सानोमा हामी त्यही जमघट हेर्दा नै मज्जा लाग्थ्यो,’ संस्कृतिविद् मदन देउरालीले भने, ‘त्यसबेलामा साँच्चिकै तानसेन गुल्जार थियो ।’ सिद्धार्थ राजमार्ग, गुल्मीतर्फको सडक बनेपछि बिस्तारै तानसेनको बजार सुक्दै गयो । गाउँमा सडक पुग्दै गएपछि बजार पनि बस्दै गयो । गुल्मीको रिडी, रुद्रवेणी, तम्घास, शान्तिपुर, बामीटक्सारतिर बजार सर्दै गयो । पछिल्लो समयमा बागलुङको बुर्तिबाङ, ढोरपाटनलगायत स्थानमा सवारी साधन पुग्न थालेपछि बजार पनि उतै सर्दै गएको छ ।

समाचार

राग र तालमा दाफा भजन

- कान्तिपुर संवाददाता

(पाल्पा) - मन्दिरको प्रांगणमा दुई समूह गोलाकारमा बसेका छन् । युवा, वृद्ध सबै उमेर समूहको सहभागिता छ । कसैले हार्मोनियम त कसैले तबला, मुजुरा र झ्याली बजाउँदै छन् । अन्य सहभागीले भजनको पाना हेर्दै गाउन सहयोग गरिरहेका छन् ।
तानसेन नगरपालिका–३ स्थित रणउजिरेश्वरी भगवती मन्दिर प्रांगणको दृश्य हो यो । यहाँ घटस्थापनादेखि प्रत्येक दिन बिहानै ‘दाफा’ भजन गुन्जिन्छ । बिहानै भगवती भजन समिति (भजन खलः) का ११ सदस्यको जमघट हुन्छ । कहिलेकाहीं १५ जनासम्म पुग्छन् । अघिल्लो वर्षदेखि भजन संरक्षण समिति पनि जुट्ने गरेको छ । यो समूहमा पनि बढीमा १५ जनासम्म हुन्छन् । दसैंको पूर्णिमासम्म भजन चलिरहन्छ ।
‘घटस्थापनादेखि दैनिक मन्दिर दर्शन गर्न आउँछु,’ तानसेन–४ लहरेपीपलका बसन्तमान सिमांगैडाले भने, ‘दुई समूहको भजनले निकै मोहकता थपेको छ ।’ विशेष गरी दाफा भजन यहाँ गाउने चलन रहेको इतिहासविद् राजेन्द्रगोपाल सिंहले बताए । उनका अनुसार नेवारी संस्कृतिमा दाफा भजनको लामो इतिहास र परम्परा छ । ‘दाफा भजन शास्त्रीय संगीतको उच्चतम सम्मिश्रण हो,’ भगवती भजन समितिका अध्यक्ष ज्ञानुकुमार वज्राचार्यले भने, ‘भजन नेवारी संस्कृतिको मात्रै नभएर नेपाली संगीतकै महत्त्वपूर्ण मौलिक विधा हो ।’
दाफा भजन समय, परिस्थिति र मौसमअनुसार गाइन्छ । यसमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिलाई प्रस्तुत गरिने इतिहासविद् सिंहको बुझाइ छ । दाफाका गीत, संगीत र बोलहरू परम्परागत शास्त्रीय रागहरूमा आधारित हुन्छ । यो प्रायः लोप हुने अवस्थामा रहेको उनले बताए । विभिन्न संगीतका विभिन्न विद्यालाई नेवारहरूले दाफा भन्ने गर्छन् । दाफा भजन खास गरी ३५ वटा रागमा आधारित
भएर गाइन्छ । यस्ता भजन लिच्छविकालबाटै अस्तित्वमा
रहेको मानिन्छ ।
दाफा भजन नेवारी संस्कृतिको विशिष्ट पहिचान भए पनि धेरैजसो स्थानमा यो भजन गाउने चलन हराउँदै गएको सिंहले बताए । पहिले नेवारी टोलटोलमा नियमित गाउने गरिन्थ्यो । पछिल्ला दिनमा भगवती जात्रा र दसैंको घटस्थापनादेखि गाइन्छ । तानसेन पनि पहिले नेवार बाहुल्य क्षेत्र थियो । त्यसैले यहाँ दाफा भजन गुन्जने परम्परा छ । पछिल्लो समय युवापुस्तामा भजनकीर्तनको खासै चासो नहुनु चिन्ताको विषय भएको सिंह बताउँछन् । उनका अनुसार कतिपय भजनको ‘राग’ र ‘ताल’ लोप हुने अवस्थामा पुगिसक्यो ।
‘मान्छे पाउनै मुस्किल छ,’ भजनमा सहभागी मदन देउरालीले भने, ‘नयाँ पुस्तालाई आकर्षित गर्न नै सकिएको छैन ।’ बिहान ६ बजेदेखि नै जम्मा हुने र भजन गाउने गर्छन् । साढे १ बजेदेखि दुई घण्टा भजनको आनन्द लिन पुग्ने पनि कमै भेटिन्छन् । भजनकीर्तनमा शिव महिमा, बालन, महाभारतजस्ता धार्मिक कथा पनि गीतका रूपमा गाउने प्रचलन छ । सृष्टिदेखिका भगवान्का लीला र अवतारको वर्णन भजनमा प्रस्तुत गर्ने गरिन्छ । ‘भगवती, गणेश भजनका साथै पुराना भजन पनि गाउने प्रचलन छ,’ संस्कृतिविद् निर्मल श्रेष्ठले भने, ‘भगवती जात्राका बेलामा भगवतीकै स्तुति हुन्छ ।’ नवदुर्गाका बेलामा विशेष गरी देवीदेवताकै भजन गाउने गर्छन् ।

 

Page 5
Page 6
प्रदेश

दसैं मनाउन घर फर्कनेको लर्को

- राजबहादुर शाही

(मुगु) - सोरु गाउँपालिका–४, का दीपबहादुर शाही परिवारसँग दसैं मनाउन भारतको लद्दाकबाट घर आइपुगेका छन् । साउनमा मजदुरीका लागि भारत गएका उनीसहित १२ युवा मंगलबार घर फर्किए ।
सोरु गाउँपालिका–६, सोरुकोटका पन्नबहादुर शाही पनि दसैंका लागि मलेसियाबाट घर फर्किएका छन् । यी दुई मात्र होइन, यहाँका विभिन्न गाउँमा दसैं मनाउन जानेको लर्को लागेको छ । जिल्लाबाहिर र सदरमुकाममा कामविशेषले बस्दै आएकासमेत दसैं मनाउन घर फर्किरहेका छन् । भारत, खाडी मुलुक, मलेसियामा मजदुरीका लागि गएका स्थानीयसमेत धमाधम घर फर्किरहेका छन् । दसैंका लागि जहाज र गाडीबाट घर फर्कनेको लर्को लागेको छ ।
सदरमुकाम गमगढीमा घर फर्कने र किनमेल गर्नेको घुइँचो छ । दसैंमा घर आउनेको चापले रारा विमानस्थलमा उडान बढाइएको छ । कर्णाली राजमार्ग हुँदै विभिन्न जिल्लामा सञ्चालन हुने यात्रुवाहक गाडीको संख्या थपिएको छ । फोतु गाउँका मंगल शाहीले दसैं मनाउन मात्रै गाउँ आएको बताए । ‘वर्ष दिनमा एकपल्ट मनाइने चाड छोड्न मनै लाग्दैन,’ उनले भने, ‘दसैंको रौनक गाउँघरमा सुरु भइसकेको छ ।’
अध्ययन, व्यापार, जागिरलगायत कारण जिल्ला सदरमुकाम बस्दै आएका स्थानीयसमेत पुर्ख्यौली गाउँ जान थालेका छन् । दसैंका लागि विभिन्न गाउँमा लाग्ने मेला र खेलकुदको तयारी छ । गमगढीका पदमबहादुर रावलले जेठ/असारमा लेकका पशुचौपाया चराउन उक्लिएका स्थानीयसमेत झर्न थालेको बताए । गोठाला घर आउन थालेपछि लेकाली बस्तीका भेडीगोठ रित्तिएका छन् ।
अन्नबाली थन्क्याउँदै स्थानीयवासी दसैंको तयारीमा लागेका छन् । औलका विभिन्न बस्तीमा धान बाली भित्र्याइसकिएको छ । माथिल्ला भेगमा मकै, कोदो, सिमी, फापर भित्र्याउने चटारो सुरु भएको छ । लेकका बासिन्दा अन्न बाली भित्र्याएर दसैंका लागि तयारी गर्दै छन् । यस वर्ष दसैंमा तिब्बतबाट भेडाच्याङ्ग्रा नआएकाले गाउँमा खसी किन्नेको भीड बढ्न थालेको छ । अधिकांश व्यापारिक केन्द्रमा उपभोग्य सामग्री, लत्ताकपडालगायत किनमेलको चाप बढेको छ । जिल्लाको चार स्थानीय तहमध्ये मुगुमकार्मारोङ गाउँपालिकाका करिब ९० प्रतिशत बौद्ध धर्मावलम्बी भएकाले त्यहाँ दसैंको चहलपहल छैन । अन्य तीन स्थानीय तहमा दसैंको चहलपहल सुरु भइसकेको छ । घर सरसफाइ र लिपपोतको काममा स्थानीय खटिएका छन् ।

प्रदेश

बजार सुनसान

- कमल पन्थी

(बर्दिया) - कपडादेखि दैनिक उपभोग्य सामान खरिद गर्नेको भीड लाग्ने बर्दियाका विभिन्न बजार अहिले सुनसान छन् । दसैंको व्यापारले भ्याइनभ्याइ हुने व्यापारी पनि फुर्सदिला बनेका छन् ।
गुलरियाका फेन्सी व्यवसायी मैयुन अहम्मदले गत वर्षहरूको तुलनामा यस वर्षको दसैं बढी सुनसान भएको बताए । ‘अहिले त निकै भीडभाड हुने बेला हो,’ उनले भने, ‘तर, दिनमा दुई/चार जना ग्राहक पनि आउँदैनन् ।’ बारबर्दियास्थित जयनगरका मोबाइल व्यवसायी सुनील चापागाईंले पनि दसैंमा कारोबार निकै कम भएको बताए ।
सदरमुकामसँगै ग्रामीण क्षेत्रका दसैं बजारमा किनमेल गर्नेको संख्या पनि घट्दै गएको छ । किराना पसलमा पनि सामान खरिद गर्ने घटिसकेको व्यवसायी बताउँछन् । सीमावर्ती क्षेत्रमा हालै सञ्चालनमा आएको लौकाही बजारमा जिल्लाका सयौं मानिस किनमेलका लागि जाने गरेपछि यहाँका बजार सुनसान भएको हो । अवैध नाकाबाट घरायसी सामानका नाममा सयौं मानिस किनमेलमा गएपछि यसलाई रोक्न स्थानीय प्रशासनसँग आग्रह गरेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।
बारबर्दिया–४ का गोपाल थारूले १ सय मूल्यमा पाइने सामान यहाँ ५ सय लिएपछि बाध्य भएर भारतीय सीमावर्ती बजार जाने गरेको सुनाए । ‘यहाँका व्यापारीले महँगोमा सामान बिक्री गरेकाले सस्तोमा सामान किन्न लौकाही र बलैगाउँ बजार पुग्ने गरेका छौं,’ उनले भने । सीमावर्ती लौकाहीसँग जोडिएको नेपाली भू–भाग गणेशपुरमा छोटी भन्सार नहुँदा यहाँका ग्राहकले सहजै भारतबाट सामान ल्याउने गरेका छन् ।

प्रदेश

टपरी जोगाउन प्रतियोगिता

- रमेशचन्द्र अधिकारी

(धनकुटा) - चोकमा महिलाहरू सालको पातलाई सिन्काले खिल्दै टपरी बनाउन व्यस्त थिए । कसले चाँडो पात गाँस्ने भन्ने होडबाजी थियो । उनीहरूले पूजाआजा तथा चाडपर्वका लागि टपरी गाँसिरहेका थिएनन् । बिरलै मात्र आयोजना हुने टपरी
गाँस्ने प्रतियोगिताका लागि यो चलिरहेको थियो ।
धनकुटा नगरपालिका–६ भीमसेनस्थान चोकमा ६० वर्ष नाघेका महिलाका लागि प्रतियोगिता गरिएको थियो । पूजा, पुराण, पितृकार्य तथा अन्य परम्परागत सन्दर्भमा सालको टपरी प्रयोग हुन्छ । तर प्लास्टिक तथा कागजका सामग्री प्रयोग बढ्दै गएपछि टपरी विस्थापित हुँदै गएको छ । मौलिक परम्परा जोगाउन बौद्धिक विकास समाजले उक्त प्रतियोगिता गरेको हो ।
समाजको ३२ औं स्थापना दिवसमा टपरी बुनाइ प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष सुवासचन्द्र जोशीले बताए । त्यसो त यो पहिलो प्रतियोगिता होइन । जोशीका अनुसार यसअघि पनि दुई पटक टपरी बुनाइ र रुवाको बत्ती कात्ने प्रतियोगिता आयोजना गरिएको थियो । नयाँ पुस्तामा बिस्तारै टपरी गाँस्ने सीप हराउँदै गएकाले संरक्षणका लागि यस्ता कार्य गर्दै आएको उनको भनाइ छ ।
‘प्रतियोगिताले दुना–टपरी संरक्षणको सन्देश दिनुका साथै रमाइलो पनि भयो,’ जोशीले भने, ‘कम्तीमा पछिल्ला पुस्तामा यसबारे चासो जाओस् भनेर जुट्दै आएका छौं ।’ प्रतियोगितामा सामेल ७२ वर्षीया शान्तिदेवी श्रेष्ठले आमाबाट बाल्यकालमै दुना–टपरी गाँस्न सिकेको बताइन् । छोराछोरी, नातिनातिनालाई भने सिकाउन नसकेको बताउँछिन् । उनी प्रतियोगितामा तेस्रो भएकी थिइन् ।
यसैगरी ६२ वर्षीया इन्द्रकुमारी श्रेष्ठ पहिलो र ६५ वर्षीया मुना श्रेष्ठ दोस्रो भए । २० मिनेटमा सबैभन्दा बढी टपरी बनाउने उत्कृष्ट तीन जनालाई पुरस्कृत गरियो । निर्धारित समयमा इन्द्रकुमारीले ९, मुनाले साढे ७ र शान्तिदेवीले ७ टपरी बनाएका थिए । विजयीहरूलाई आकारका थर्मस एवं भाँडाकुँडा, मायाको
चिनो र सम्मानपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ८ महिला सहभागी थिए ।
संस्कृति एवं परम्पराको जगेर्ना गर्न यस्ता प्रतियोगितालाई निरन्तता दिइने संस्थाका पूर्वसचिव नवीनकिशोर शाक्यले बताए । धनकुटा–७ त्रिवेणी चोकमा रहेको हाम्रो बहुमुखी पाठशालाले बालबालिकालाई सामेल गरेर दुना–टपरी बनाउने सीप सिकाउँदै आएको छ । विभिन्न विद्यालयका विद्यार्थीका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष सरोज भुजेलले बताए ।
विगतमा आयोजित तालिम प्रभावकारी भएकाले निरन्तरता दिइने उनले अनुभव सुनाए । भुजेलका अनुसार ज्येष्ठ महिला प्रशिक्षकबाट पछिल्ला पुस्ताकालाई तालिम दिइनेछ । उनले सालको पातबाट बनाएको दुना–टपरी पवित्र मानिने धार्मिक मान्यता रहेको बताए ।

प्रदेश

दार्चुलामा दसैं सुरक्षा योजना

- कान्तिपुर संवाददाता


दार्चुला (कास)– दार्चुलामा शान्तिपूर्ण रूपमा दसैंतिहार मनाउन विशेष सुरक्षा योजना लागू भएको छ । ट्राफिक नियम उल्लंघन, जुवातास र मापसेमा निगरानी गर्न दसैं विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ ।
रोजगारीका लागि भारतका विभिन्न सहर पसेका आफ्नो जन्मथलो फर्कन पुलघाट नाका हुँदै दार्चुला पुग्ने गरेका छन् । अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौंलगायत सहर गएका पनि केही घर फर्केका छन् । केही फर्कने क्रममा छन् । नागरिकको सहायताका लागि सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा प्रहरीले हेल्प डेस्क सञ्चालन गरेको छ ।
खलंगामा दुई ठाउँ र गोकुलेश्वरमा गरी तीन ठाउँमा राखिएको हेल्प डेस्कले शान्ति सुरक्षामा सहयोग मिल्ने प्रहरीले जनाएको छ । जिल्लाका अन्य ठाउँमा आवश्यकता परे अझ थप हेल्प डेस्क राखिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले बताए । उनका अनुसार चाडपर्व केन्द्रित सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर जिल्लाभरिमा दुई सय ४४ प्रहरी परिचालित छन् ।
‘दसैं–तिहारमा जुवातास र मादक पदार्थ सेवन रोकथाम तथा नियन्त्रणमा विशेष ध्यान दिएका छौं,’ सूचना अधिकारी शाहीले भने । आवागमन बढेकाले सर्वसाधारण ठगिन नदिन प्रहरीले निगरानी बढाएको छ । यस्तो बेला आपराधिक मानसिकताका व्यक्तिको क्रियाशीलता बढ्ने, लुटपाट र ठगी हुन सक्ने भएकाले सूचना संकलनमा सादा पोसाकमा प्रहरी खटाइने उनले बताए ।

Page 7
समाचार

टिकट अभाव देखाउँदै दोब्बर भाडा

- कान्तिपुर संवाददाता

(काठमाडौं) - दसैंमा घर जान बसको टिकट बुकिङका लागि विनीता श्रेष्ठ पराजुलीे बिहीबार गौशालास्थित टिकट काउन्टर पुगिन् । तर, विराटनगरसम्म जाने टिकट पाइनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ । मध्यपुर थिमि कौशलटार बस्ने पराजुलीले भाडाबापत २ हजार ५ सय रुपैयाँ तिर्नुपरेको बताइन् । जबकि सरकारले काठमाडौं–विराटनगरको सार्वजनिक बस भाडा १ हजार ५ सय ४८ रुपैयाँ तोकेको छ । ‘काउन्टरमा टिकट अभाव देखाउँछन्, बाहिर बार्गेनिङमा व्यवसायीले रिजर्भ बस सञ्चालन गरिरहेका छन्,’ उनले भनिन्, ‘चाडपर्वको मौकामा यात्रुलाई खुल्लमखुला ठगी भइरहेको छ ।’
कैलाली धनगढीका शंकर तिमिल्सेनाको गुनासो पनि उस्तै छ । दसैंका लागि घर फर्किन उनी शुक्रबार कलंकीस्थित टिकट काउन्टर पुगे । शंखमूल बस्ने तिमिल्सेनाले टिकट सकिसकेको जवाफ पाए । ‘रिजर्भमा जाने भए मिलाइदिउँला भन्छन्,’ उनले भने, ‘टिकट काउन्टरबाटै बार्गेनिङ चलेको छ, झन्डै दोब्बर भाडा तिरेर घर जाँदै छु ।’ तिमिल्सेनाले धनगढीका लागि प्रतिव्यक्ति ३ हजार २ सय रुपैयाँ तिर्ने गरी आइतबारका लागि सिट रिजर्भ गरेका छन् । सरकारले काठमाडौं धनगढीका लागि १ हजार ९ सय ६२ रुपैयाँ मात्र भाडा तोकेको छ ।
यी दुई घटना त उदाहरण मात्र हुन् । दसैंमा घर फर्किन खोज्ने यात्रुहरूले दिनैपिच्छे टिकट काउन्टर धाउँदा पनि टिकट पाउनै नसकेको गुनासो छ । टिकट पाए पनि बढी भाडा तिर्नुपरेको बताएका छन् । बस व्यवसायीहरूले टिकट अभाव देखाउँदै दोब्बर भाडा लिएर रिजर्भमा यात्रुलाई ओसार्ने गरेका हुन् । यातायात व्यवस्था विभागले दसैंलाई लक्ष्य गरेर यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । यही मौका छोपेर व्यवसायीले यात्रुलाई मर्कामा पारेको गुनासो छ । चाडपर्वकै बेला यात्रुहरू मर्कामा पर्दासमेत सरोकारवाला निकाय भने मौन देखिन्छन् ।
यातायात व्यवसायी भने यात्रु सहायताकै लागि रुट परमिट खुला गरेको र यात्रुले रिजर्भमा सवारीसाधन छनोट गर्न सक्ने जनाएका छन् । ‘क्युको सार्वजनिक यातायात सीमित भएकै कारण दसैं लक्षित रुट परमिट खुला गरिएको छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘यात्रुले आफ्नो रोजाइअनुसार नै गाडी रिजर्भ गरेर घर फर्किरहनुभएको छ ।’ सरकारले तोकेकै मूल्यमा टिकट उपलब्ध गराउँदै आएको सिटौलाको दाबी छ । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिहरूबाट टिकट नलिन उनको सुझाव छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैं सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । बिहीबार ७१ हजार ७ सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको संख्या ८४ हजार नाघेको कार्यालयका सहप्रवक्ता एसपी अवदेश विष्टले बताए । शनिबार त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाडेका छन् । रिजर्भमा जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएको एसपी विष्टले बताए । ट्राफिक प्रहरीका अनुसार असोज १० (सोमबार) मा ८ हजार सात सय २९ वटा सवारीसाधनमा ४५ हजार ८ सय २३ यात्रु काठमाडौं उपत्यका भित्रिएका थिए भने ८ हजार ९ सय ४ सवारीसाधनमा ६० हजार ८ सय ४१ यात्रु उपत्यकाबाट बाहिरिएका थिए । मंगलबार ८ हजार ४ सय २७ सवारीसाधनबाट ४५ हजार ३३ यात्रु भित्रिएकोमा ९ हजार एक सय ६१ सवारीसाधनबाट ६२ हजार ४ सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।
यस्तै, बुधबार ९ हजार ९ सवारीसाधनबाट ४५ हजार २ सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारीसाधनबाट ७१ हजार ७ सय ६३ यात्रु बाहिरिएको एसपी विष्टले जानकारी दिए । बिहीबार ८ हजार २३ सवारीसाधनमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार २ सय १९ सवारीसाधनमार्फत ७४ हजार ३ सय ६२ यात्रु बाहिरिए । शुक्रबार भने ७ हजार ४ सय ६० सवारीमार्फत ३७ हजार ३ सय ४० यात्रु भित्रिँदा १० हजार २ सय ६७ सवारीसाधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले निजी र रिजर्भको सवारी संख्याको भने तथ्यांक राखेको छैन । सार्वजनिकभन्दा दोब्बरको संख्यामा रिजर्भ तथा निजी सवारीसाधनमा यात्रु घर फर्किएको ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

नाकामा विशेष जाँच
ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्ष्य गरी काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका अवसरमा सवारीसाधनबाट हुन सक्ने ठगी रोक्न र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न विशेष जाँच गर्न लागेको जनाएको छ । उपत्यकाका मुख्य नाका थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बाइपास, बालाजुलगायत स्थानमा जाँच हुने एसपी विष्टले जानकारी दिए ।
यस्तै, उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मादक पदार्थ सेवन (मापसे) जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी र छतमा यात्रु तथा मालसामान राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ । चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिंगल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने र लागूपदार्थ सेवन जाँच गर्ने एसपी विष्टले बताए । यात्रुको गुनासोका आधारमा ट्राफिक प्रहरीले ६१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो, जसअन्तर्गत दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाइएको छ ।

समाचार

रेडियो कान्तिपुरमा चंगा चेट

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– दसैंको अवसर पारेर रेडियो कान्तिपुरले बार्दलीबाट चंगा उडाउने कार्यक्रम गरेको छ । पुल्चोकस्थित रेडियो कान्तिपुरको बार्दलीमा शुक्रबार झन्डै तीन घण्टा कलाकारहरूबीच चंगा उडाउने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सानो छँदा दसैंका बेला चंगा उडाएको संस्मरण सुनाएका थिए । ‘अहिले त चंगा नउडाएको २० वर्ष भइसक्यो होला । सानोमा हामी चंगा चेट हुँदा छोप्न खुबै लामो दौड गर्थ्यौं । चंगा नभेटिए धागो भेटाउँदा पनि खुबै आनन्द लाग्थ्यो,’ उनले भने । कान्तिपुरका कर्मचारीले कार्टुन अंकित चंगा र मन्जा धागो भएको लट्ठा थमाइदिएपछि महानगर प्रमुख महर्जनले रेडियोको तेस्रो तलामाथिको बार्दलीबाट महानगरको मुख्यालय भएको पूर्वी दिशातर्फ चंगा उडाउन खोजेका थिए । महर्जनपछि कलाकार, आरजे, पत्रकार र अरू अतिथिले चंगा उडाए । कलाकारहरू रेखा शाह, कमल खत्री, प्राश्ना शाक्य, निशा देसार, युवराज चौलागाईं, केबी राई, बाबु बोगटी, हिमाल सागर, आशिष सचिन र विश्व नेपालीले सांगीतिक प्रस्तुतिहरू दिए । हास्य कलाकार राजा राजेन्द्र र रेडियोका आरजे निसान कटवालले सहभागीलाई दसैं सम्बन्धित प्रहसनमा पनि जोडिरहे । कलाकारहरूले रेडियोका कार्यक्रम संयोजक भूपेन्द्र खड्का, आरजेहरू प्रज्वल खड्का, महिमा भट्टराई, प्रियंका प्रसाईं, महेश लिम्बू, सन्तोष बस्याल, स्मिता राणा, कमला पन्थी, दुर्गा पाण्डे, अच्युत सुवेदीसँग आफ्ना दसैं–तिहार अनुभव र दसैं योजनाबारे श्रोतालाई सुनाएका थिए । रेडियो कान्तिपुरले बार्दलीबाट चंगा उडाउने कार्यक्रमलाई दुई दशकदेखि निरन्तरता दिँदै आएको छ ।

समाचार

ठेक्का टुंगिएन, चामल आएन

- कान्तिपुर संवाददाता

(गोरखा) - टेन्डर प्रक्रिया नटुंगिँदा यस वर्ष दसैं लाग्दासम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले उत्तरी गोरखामा चामल ढुवानी सुरु गरेको छैन । चालु आर्थिक वर्ष सिर्दिबासका लागि ३५ सय र माछाखोलाका लागि ५ सय क्विन्टल कोटा स्विकृत भएको छ । तर ठेक्काको टुंगो नलाग्दा चालु वर्षको दुई महिनासम्म चामल ढुवानी हुन सकेको छैन । ठेक्काका सबै प्रक्रिया सकेर कात्तिक दोस्रो सातापछि चामल ढुवानी हुने कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
चालु आवमा गोरखा शाखाबाट चामल ढुवानीका लागि प्रगति निर्माण सेवाले ठेक्का पारेको छ । ‘ठेकेदारसँग सम्झौता बाँकी छ, असोज २५ भित्र ठेक्का सम्झौताका लागि समय दिएका छौं,’ सुनारले भने, ‘सम्झौतापछि बल्ल चामल ढुवानी सुरु हुने भएकाले थोरै ढिला भयो, अब सबै प्रक्रिया सकेर कात्तिक आधाआधीतिर चामल ढुवानी सुरु हुन्छ ।’
सिर्दिबास डिपोमा गत वर्ष ढुवानी भएको करिब १ सय २० क्विन्टल चामल मौज्दात रहे पनि माछाखोला डिपोमा चामल रित्तिएको छ । सिर्दिबास डिपोमा गत आवमा ढुवानी भएर मौज्दात रहेको ५ सय क्विन्टल चामल यसअघि तीन पटक बिक्री गरिएको सुनारले बताए । यस वर्ष सिर्दिबास डिपोमा २ हजार क्विन्टल गोरखा शाखा र १५ सय क्विन्टल तनहुँस्थित विमलनगरबाट ढुवानी हुने उनले बताए । धानखेती नहुने उत्तरी गोरखाका बासिन्दालाई सहजताका लागि सरकारले ढुवानी अनुदानमा स्थानमा चामल बिक्री गर्दै आएको छ । अघिल्लो वर्ष २०७८/७९ मा पनि कम्पनीले ३ पटक लगाएर ठेक्का गरेको थियो । गतवर्ष भने सिर्दिबास डिपोमा कोटा अनुसारको सबै चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।
सिर्दिबास डिपोबाट छेकम्पार, चुम्चेत, सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँका स्थानीयका लागि चामल बिक्री हुने गरेको छ । यहाँका बासिन्दाले अहिले खच्चडबाट ढुवानी भएको बजारको चामल उपभोग गर्दै आएका छन् । व्यापारीले खच्चडको ढुवानी भाडाको समेत मूल्य जोडेर बिक्री गर्दा खाद्यको भन्दा बजारको चामलको मूल्य बढी पर्न जाने स्थानीय बताउँछन् ।
लोक्पा पहिरोका कारण छेकम्पार र चुम्चेतमा बजारको चामल पनि पुग्न सकेको छैन । दुई महिनाअघि लोक्पामा झरेको पहिरोले खच्चड कट्न नसकेपछि भण्डारण गरिएको चामलको भर रहेको छेकम्पारका तेन्जिङ लामाले बताए । दुई वडामा ‘स्टक’ चामल पनि सकिँदै जान थालेको उनले बताए । नेपाली सेनाले लार्के जोड्ने सडकको ट्र्याक खुलेसँगै माछाखोलासम्म गाडी चल्न थालेपछि खाद्यको गोदामबाट बिक्री घटेको छ । माछाखोलामा अघिल्ला वर्षको तुलनामा कोटा पनि घटेको छ । माछाखोला डिपोबाट धार्चे गाउँपालिकाका बासिन्दालाई खाद्यान्न बिक्री हुँदै आएको छ । स्थानीय तहका जनप्रतिनिधिको सिफारिसमा उक्त क्षेत्रका बासिन्दालाई चामल उपलब्ध गराउने प्रावधान छ ।
यसैबीच, कम्पनीले दसैं, तिहार, छठ पर्वलाई लक्ष्य गरेर सञ्चालन गरेको सहुलियत पसलबाट जिरोमसिनो ११८ क्विन्टल र सोना मन्सुली चामल ११ क्विन्टल बिक्री गरेको छ । कम्पनीको शाखा कार्यालय गोरखाबाट चामल खरिद गर्दा प्रतिकलो सात रुपैयाँ छुट दिइएको सुनारले जानकारी दिए । ‘सहुलियत पसलबाट प्रतिकिलो ५२ रुपैयाँ रहेको सोना मन्सुली चामल ४५ र ६७ रुपैयाँ प्रतिकिलो रहेको स्टिम जिरा मसिनो ६७ रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने । शाखाको गोदाममा सोना मन्सुली चामल २६१ क्विन्टल र स्टिम जिरा मसिनो चामल १०० क्विन्टल मौज्दात चामल बिक्री गरिएको हो । सहुलियत मूल्यको चामल एक बोराका दरले मात्र उपलब्ध गराइएको पनि उनले बताए । असोज १ मा सुरु भएको सहुलियत मूल्यको पसल कात्तिक १५ सम्म सञ्चालन हुनेछ ।

समाचार

नकटा हाँसलाई बासस्थान संकट

- अर्जुन शाह

(धनगढी) - सिमसार तथा जलसिञ्चित घाँसे मैदानमा चर्ने र छिपछिपे पानीमा खेल्ने रैथाने प्रजातिको नकटा हाँस लोपोन्मुख अवस्थामा पुगेको छ । कैलाली र कञ्चनपुरमा मात्रै पाइने यस प्रजातिको हाँसको बासस्थान मासिँदै गएको छ ।
संकटापन्न सूचीमा सूचीकृत नकटा हाँसको बासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालीकिच, सिकारी ताल र निकुञ्जबाहिरका पुरैनी, कैलालीको घोडाघोडी, बेलौरीको शोभाताललगायत क्षेत्र हुन् ।
छिर्काछिर्का भएको सेतो टाउको, माथिल्लो भागमा मैलो कत्ला र कैलोमैलो तल्लो भागका साथै छातीको छेउमा गाढा कत्ला हुन्छ । ‘यस हाँसको स्वभाव अन्य प्रजातिका चराभन्दा भिन्न हुन्छ,’ चराविज्ञ हिरूलाल डगौराले भने, ‘अन्य प्रजातिका हाँसका झुन्डमा मिसिएर बस्ने गर्छ ।’
डगौराका अनुसार नकटा हाँस यहाँको रैथाने प्रजातिका हाँसमध्ये सबैभन्दा ठूलो प्रजातिको हो । यसले बर्खा सुरु भएपछि बच्चा कोरल्ने गर्छ । रूखको टोड्का, अरू चराले छाडेका गुँड र ठूलो घाँसको झाडीमा अन्डा पार्ने गर्छ । पोथीले एकपटकमा १० देखि १५ वटासम्म अन्डा पार्ने गर्छ । अन्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोरल्ने गर्छ । डगौराका अनुसार किरा–फट्यांग्रा, माछा, जलीय र वनस्पति यस हाँसको मुख्य आहारा हो ।
कैलालीका तालतलैयामा हालै गरिएको सर्वेक्षणमा नकटा हाँसको संख्या ४५ मात्रै रहेको पाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित आसपासका तालतलैया क्षेत्रमा ६० को हाराहारीमा रहेको डगौराको भनाइ छ । आवश्यक बासस्थान र आहार तथा पर्यावरणका कारण लोपोन्मुख सूचीमा रहेका चराहरूको जीवन संकटमा पर्दै गएको अध्ययनकर्ताहरूको निचोड छ । तालतलैया सुक्ने क्रम बढेकाले जलपन्छीहरू, घाँसे मैदान घट्दै गएकाले फिस्टे प्रजातिका चराहरू र कृषिजन्य क्षेत्रमा हुर्कने चराहरू बदलिँदो कृषि प्रणाली र विषादीका कारण संकटमा पुगेका विज्ञहरूले औंल्याउँदै आएका छन् ।
नेपाल पन्छी संरक्षण संघका अनुसार नेपालमा ८ सय ८६ प्रजातिका चरा पाइन्छन् । तीमध्ये ४ सय ९६ प्रजातिका चरा कैलालीमै पाइने गरेका छन् । अहिले ४३ प्रजातिका चरा विश्वका दुर्लभ पन्छीको सूचीमा छन् । तीमध्ये कैलालीमै २१ प्रजातिका चरा रहेको संघका सहायक परियोजना अधिकृत एवं कैलालीमा दुई दशकभन्दा बढी समयदेखि चराको अध्ययन गर्दै आएका विज्ञ हिरूलाल डगौराले बताए ।
संघका अनुसार नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये १ सय ५० भन्दा बढी प्रजातिका चरा विभिन्न मौसममा विभिन्न देशबाट बसाइँ सरेर पाहुनाका रूपमा आउने गरेका छन् । तीमध्ये ७० बढी प्रजातिका चरा कैलालीमै आउने गरेका छन् । चीन, तुर्किस्तान, उज्वेकिस्तान, रुस, किर्गिस्तान, अजरबैजान, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट पुच्छ्रे हाँस, खड्के हाँसलगायत प्रजातिका जलपन्छी बसाइँ सरेर नेपालमा आउने गर्छन् । ती चराहरू अक्टोबरदेखि मार्च पहिलो सातासम्म नेपालमा बस्ने गरेको चरा संरक्षणकर्मी डगौराले बताए । यस अवधिमा नेपालमा सुरक्षित बासस्थान, उपयुक्त मौसम र आहारको खोजीमा बर्सेनि आगन्तुक चरा नेपाल आउने गरेका हुन् । हिउँदमा नेपाल आउने आगन्तुक चराहरू बढीजसो तराईका तालतलैयामा देखिन्छन् । त्यसमा हाँस प्रजातिका बढी हुन्छन् ।

Page 8
सम्पादकीय

सांकेतिक भाषालाई उपेक्षा नगरियोस्

- कान्तिपुर संवाददाता


सेप्टेम्बर २३ मा पर्ने सांकेतिक भाषाको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि साताव्यापी रूपमा मनाइयो । यसपालिको नारा थियो— ‘सांकेतिक भाषाले हामीलाई एकताबद्ध गर्दछ ।’ नेपालमा, सांकेतिक भाषाको सामूहिक प्रशिक्षण सुरु भएको पाँच दशक नाघिसक्दा पनि यसको अपेक्षाकृत विकास हुन नसकेकाले बहिरा व्यक्ति र स्वर वा बोलाइसम्बन्धी अपांगता भएकाहरू समाजबाट टाढिइरहेका छन् । तिनको समावेशिताको सवालमा सरकारबाट भइरहेका कामहरू सन्तोषप्रद छैनन् । हरेक वर्ष सांकेतिक भाषाको
महत्त्वलाई दिवसले सम्झाए पनि यसको प्रवर्द्धनका लागि गर्नुपर्ने पहल हुन सकेको देखिन्न ।
नेपालमा प्रायः सार्वजनिक सेवाप्रदायक संस्थाहरूमा सांकेतिक भाषा सहजै उपलब्ध छैन । यो भाषा–निर्भर समुदाय यसैका कारण सेवासुविधाबाट वञ्चित हुनुपरिरहेको छ । २०६८ को जनगणनाअनुसार, नेपालमा ७९ हजार ३ सय ७ बहिरा व्यक्ति छन्, जो सांकेतिक भाषाका प्रत्यक्ष प्रयोगकर्ता पनि हुन् । उनीहरूको शिक्षा र रोजगारीको आधार पनि हो यो । तिनको परिवारका अन्य सदस्यलाई पनि सांकेतिक भाषा चाहिन्छ । यस अर्थमा सांकेतिक भाषाको प्रवर्द्धनले एउटा ठूलो समुदायले राज्यप्रति अपनत्व महसुस गर्छ । यो बहिरा व्यक्तिको नागरिक अधिकारको सवाल पनि हो । तर यो विषयमा सरकार हुनुपर्नेजति गम्भीर छैन । पछिल्ला वर्षहरूमा सांकेतिक भाषाका लागि
छुट्याइएको बजेटसमेत खर्च हुन सकेको छैन ।
महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले कोभिड–१९ अघि सांकेतिक भाषा प्रवर्द्धनका नाममा १ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोभिडका कारण यो रकम खर्च हुन सकेन । त्यति बेला भाषा प्रशिक्षणका कार्यक्रम सञ्चालनका लागि उपयुक्त वातावरण पनि थिएन तर महामारी अलि मत्थर हुँदा छुट्याइएको बजेट पनि खर्च गर्न सकिएको छैन । कोभिडयताका दुई आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट थियो । चालु आर्थिक वर्षमा पनि ३० लाख रुपैयाँ छुट्याइएको छ । यसबाट सांकेतिक भाषाको सवाल सरकारको प्राथमिकतामा नपरेको प्रस्ट हुन्छ । बजेट सदुपयोग गर्नेबारे मन्त्रालयका पदाधिकारीलाई कुनै चासो भएजस्तो देखिन्न ।
सरकारले छुट्याएको बजेटको उपयोग हुन्थ्यो भने सेवाग्राहीहरू निःशुल्क रूपमा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउँथे । सरकारको अनुपस्थिति भए पनि वर्षौंदेखि यो काममा केही गैरसरकारी संस्था क्रियाशील छन् । तिनको गतिविधि राजधानीकेन्द्रित हुने भएकाले भाषा सिक्न चाहनेहरू देशैभरिबाट काठमाडौं आउनुपर्ने बाध्यता छ । प्रशिक्षण शुल्क त छँदै छ, काठमाडौं आउँदा–जाँदा र बस्दाको आर्थिक भार पनि ब्यहोर्नुपर्ने अवस्था छ । यस्तो वास्तविकताले सांकेतिक भाषाको आवश्यकता पर्ने सम्पूर्ण समुदायलाई उपहास गरेको छ । सूचना प्रविधिको व्यापक विस्तार भइरहेको अहिलेको समयमा प्रशिक्षणका कार्यक्रम भौतिक रूपमा मात्र गर्नुपर्छ भन्ने पनि छैन । सांकेतिक भाषा सिकाउन गुणस्तरीय भिडियो सामग्री बनाएर सजिलै प्रचारप्रसार गर्न सकिन्छ । तर, यतातिर सरकारले ख्याल गरेको छैन ।
मागअनुरूपै सांकेतिक भाषाका लागि वातावरण बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । साथै सांकेतिक भाषा–भण्डारको विकास पनि उत्तिकै आवश्यक छ । भाषा अभिव्यक्तिको सशक्त माध्यम भएकाले जति समृद्ध भयो त्यति नै सञ्चार प्रभावकारी हुन्छ । तर, नेपाली सांकेतिक भाषा शब्दकोशमा अहिलेसम्म ४ हजार ७ सय शब्द मात्र छन् । यति थोरै शब्दबाट सांकेतिक भाषाका प्रयोगकर्ताले आफ्नो अभिव्यक्तिलाई प्रभावकारी बनाउन सक्दैनन् । औपचारिक रूपमै नेपाली सांकेतिक शब्द प्रयोग गर्न थालिएको पाँच दशक नाघिसक्दा पनि बहिरा व्यक्तिले यति थोरै शब्दहरूबाट अभिव्यक्ति दिनु परिरहेको छ । यस्तो परिस्थिति बन्नुमा सांकेतिक भाषाप्रतिको सरकारी उपेक्षा नै मुख्य कारक हो, जुन अवस्था लम्बिरहनु हुँदैन । सांकेतिक भाषाको अभ्यास र अभिव्यक्तिलाई फराकिलो पार्न आवश्यक अनुसन्धानकेन्द्रित गतिविधिमा सरकारले अविलम्ब ध्यान दिनुपर्छ । नियमित बजेटको केही हिस्सा सांकेतिक भाषाका शब्दलाई बढाउन चाहिने अनुसन्धान गतिविधिमा खर्चनुपर्छ ।
बहिरा व्यक्ति भाषाको अभावमा समाजबाट वञ्चित हुनु नपरोस् भन्नका लागि सरकारका साथै अन्य सेवाप्रदायक संस्थाहरू पनि उत्तिकै संवेदनशील हुनुपर्छ । अझै पनि सांकेतिक भाषा एउटा सिंगो समाजलाई जोड्न चाहिन्छ भन्ने धारणा सार्वजनिक सेवाप्रदायक संस्थामा भेटिन्न । भिडियो समाचार सामग्री बनाउँदा, प्रकोपसम्बन्धी जानकारी दिँदा वा स्वास्थ्य लगायत अन्य सार्वजनिक सूचना प्रवाह गर्दा नेपालमा सांकेतिक भाषाको प्रयोग नगर्ने चलन यसैको उदाहरण हो । यस्तो अवस्थालाई सुधार्नु जरुरी छ । दोभाषेको संख्या पनि बढाउनु आवश्यक छ । त्यसो त, बहिरा व्यक्तिहरूको सरोकारलाई स्थापित गर्न उनीहरूबाटै संगठित प्रयास पनि भइरहेको देखिन्छ, केही गैरसरकारी संस्था स्थापना गरिएका पनि छन् । यस्ता संस्थाहरूको उपस्थिति सकारात्मक भए पनि, तिनले दिवस मनाउनेबाहेक सरकारको नीति तथा बजेट परिचालन विषयमा पनि निरन्तर खबरदारी गर्नु जरुरी छ । सबैको सचेत पहलबाट सांकेतिक भाषाको समुचित प्रवर्द्धन गर्नु अपरिहार्य छ ।

सम्पादकलाई चिठी

कांग्रेसको चुनावमुखी कलह

- कान्तिपुर संवाददाता


कांग्रेसको कलहले यतिखेर प्रतिपक्ष एमाले उत्साहित भएको छ । पार्टीमा फुट आए त्यसको फाइदा सबैभन्दा बढी प्रतिपक्षलाई नै पुग्ने हो । यदि कांग्रेसभित्र एकता भएमा र गठबन्धनका सबै पार्टी इमानदार भएमा आउँदो चुनावमा एमाले तेस्रो पार्टीमा झर्ने सम्भावना छ । होइन, कांग्रेसभित्र अनि गठबन्धनका अन्य पार्टीभित्र फुट भएमा एमाले पहिलो हुनेछ । २०७४ सालको निर्वाचनमा केवल २३ सिट जितेको कांग्रेसले यसपालि पनि बाटो बिराएमा उस्तै खराब नतिजा आउन सक्छ । त्यसका
लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुवैले ठन्डा दिमागले सोच्नुपर्छ । कांग्रेसले ८३ सिट लिएर गठबन्धन मजबुत बनाउने र शेखर समूहलाई पनि न्यायोचित रूपमा समानुपातिक र प्रत्यक्षमा अवसर दिए फेरि कांग्रेस नै सत्तामा पुग्ने प्रबल सम्भावना छ । मेरो गोरुको बाह्रै टक्का भनेमा प्रधानमन्त्री देउवा र शेखर दुवैको चीरहरण हुनेछ ।
यसैबीच, देउवा र गृहमन्त्री बालकृष्ण खाँण दुवैले आफ्ना श्रीमतीलाई समानुपातिक सूचीमा समावेश गर्दा पार्टीभित्र असन्तोष बढेको छ । जसले गलत सन्देश प्रवाह भएको छ । एकताका गणेशमान सिंहकी पत्नी मंगलादेबी सिंह र छोरा प्रकाशमान सिंह दुवैलाई टिकट दिँदा पार्टी र मतदातामा नकारात्मक छाप परेको थियो । आरजु राणा र मञ्जु खाँणका कारण चुनावमा कांग्रेसको भोट बैंक घट्न सक्छ । यसर्थ मिल्छ भने पतिपत्नीमध्ये एक जनालाई मात्र अवसर दिने नीति कांग्रेसले बनाउनुपर्छ । अर्को कोइरालाले केही दिनअघि प्रतिपक्ष पार्टीका नेता केपी शर्मा ओलीको घरमै गई ‘वन टु वन’ वार्ता गरे पछि अनेक शंकाउपशंका उठेका छन् । वार्तामा के विषयमा कुरा भयो त्यो त दुवै नेताले सार्वजानिक गरेका छैनन् । यस्तो घटनाले थुप्रै आशंका जन्माएको छ । निश्चय नै शेखर समूहलाई देउवाले पेल्ने, कम सिट दिने कुरा न्यायोचित हुँदैन तर त्यसको बदला कोइरालाले बालकोटमै गएर बार्ता गर्नु पनि उत्तिकै आपत्तिजनक कुरा हो । घरको झगडा घरभित्रै बसेर समाधान गर्नुपर्छ ।
– गोपाल देवकोटा, जोरपाटी, गोकर्णेश्वर–८

सम्पादकलाई चिठी

दशैंको उल्लास

- कान्तिपुर संवाददाता


कोरोना कहरले थला परेको माहोलमा सुधार आएसँगै झन्डै तीन वर्षपछि यसपालिको वडा दसैंमा गाउँसहर सबैतिर रौनक बढेको छ । विभिन्न ठूला सहरबाट आफ्नो गाउँ, थातथलोतर्फ जाने सर्वसाधारणको घुइँचो लागेको हामी अनुभव गर्न सक्छौं । यसपालि राजधानीबाट मात्र झन्डै २० लाख व्यक्तिले उपत्यका छोड्ने प्रक्षेपण गरिएको छ । तथापि सरकारले स्तरीय सडक निर्माण, विस्तारतर्फ ध्यान नदिँदा यात्रु ढुक्कसँग यात्रा गर्ने अवस्थामा छैनन् । जथाभावी ढंगले पहाडमा निर्मित कच्ची सडक दुर्घटनाका केन्द्र बनिरहेका छन् भने ठूला राजमार्गहरू पनि बाढीपहिरोको जोखिममा पर्नुका साथै खाल्डाखुल्डीले क्षतविक्षत बनेका छन् । यावत् कारणले गन्तव्यमा पुग्न सर्वसाधारणले व्यहोर्ने गरेको हन्डर शब्दमा वर्णन गर्न सकिँदैन । छोटो समयमा ठूलो संख्यामा सर्वसाधारण बाहिरिने कुरा सरकारलाई जानकारी हुँदाहुँदै अहिलेसम्म धेरैको निम्ति यात्रा सहज बन्नसकेको छैन ।
तथापि जति दुःखकष्ट व्यहोर्नुपरे पनि आफ्ना घर परिवार भेट्ने, खुसीसाथ चाड मनाउने नेपालीको चाहना अद्वितीय मान्नुपर्छ । वडा दसैंमा विदेशबाट आउनेहरूको संख्या उल्लेख्य मान्नुपर्छ । पश्चिमको कुरा गर्ने हो भने, भारतमा पुगेर दुःखजिलो गर्नेहरू हजारौंको संख्यामा दसैंको आनन्द लिन स्वदेश फर्किरहेका छन् । भन्ने हो भने देशविदेशमा बस्नेदेखि गाउँसहरमा बस्नेहरूबीच यो चाडले आत्मीयता अरु बढाएको पाइन्छ । विभिन्न धर्मावलम्बी, जातजाति, भाषाभाषीमाझ देखिने मेलमिलाप, भाइचाराको भावना विश्वका अन्य मुलुकमा देख्न पाइँदैन । यद्यपि धर्म, परम्परा, आस्थामाथि प्रहार गर्दै आफ्नो दुनु सोझ्याउन खोज्ने केही नेताहरू अहिले पनि जनता भड्काउने कोसिसमा लागेका छन् । तर तिनीहरूको नकारात्मक अभिव्यक्तिमाथि सर्वसाधारणले उपेक्षा गर्दै आएका छन् । पछिका दिनमा पनि हामी नेपालीको एकताको भाव कसैले बिथोल्न सक्ने छैन । आशा गरौं, आफ्नो धर्म, परम्परामा जोगाउन एक ढिक्का बन्दै आएका जनताका निम्ति यसपालिको विजयादशमी सुखमय एवं मंगलकारी बन्नेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

सम्पादकलाई चिठी

चाडवाडको मुखमा कृत्रिम मूल्यवृद्धि

- कान्तिपुर संवाददाता

'महँगो दसैं : खाद्यवस्तु किलोमै ३०० रुपैयाँसम्म वृद्धि’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

व्यापारीहरूले चाडपर्वलाई बाली भित्र्याउने अवसरका रूपमा लिएका छन् । उपभोक्ताहरूमाथि थुपारिएको मूल्यवृद्धि र कालोबजारीलाई सरोकारवाला निकायहरू टुलुटुलु हेर्दै बसेका छन् ।
– सुरेन्द्र महर्जन

अनुगमानकारीहरूले अनुगमन प्रभावकारी रूपमा नगरेकाले व्यापारीले मूल्य बढाइरहेका छन् अनि त्यसको मार साधारणले भोग्नुपर्छ ।
– सागर भट्ट

सरकार र व्यापारीले यतिको अत्याचार गर्दा पनि बडादसैं हर्सोल्लासपूर्वक मनाउने नेपाली महान् छन् र धैर्यवान् पनि ।
– राजन भट्टराई

व्यापारीको अराजकतामाथि हस्तक्षेप गर्न नसक्ने नियामक निकाय खारेज गरे हुन्छ । देशका लागि भार । भारतले चामल निर्यातमा कर
लगाउने घोषणा गर्नेबित्तिकै ठुला निर्यातकार्ताहरूको मौज्दात तत्काल घोषणा गर्न लगाई निगरानी गर्न सकिन्थ्यो । सरकारको जिम्मेवारी कृत्रिम मुल्यवृद्धि हुन नदिने हो । सरकारको अहिलेको काम आमजनताको नजरमा शतप्रतिशत निस्प्रभावी छ ।
– श्याम पौड्याल

बूढानीलकण्ठ, बालकोट र खुमलटार दरबारलाई महँगीले छुँदैन । तिनलाई आमजनताको
के मतलब ?
– भोला खनाल

देशको परिस्थितिअनुसार अविनको कार्टुन गज्जबको छ । सरकारले माफिया, बिचौलिया एवं व्यापारीहरूलाई रिझाएर राखेको छ । बजार अनुगमनको नतिजा कहिल्यै परिणाममुखी भएन । उपभोक्ताहरूले कहिल्यै राहत पाएनन् । भनेको मूल्य नतिरी सुखै छैन । अनि महँगी किन नबढोस् त !
– बोधनाथ पौडेल

जहिले पनि सबै थोक बाहिरबाट आयात गर्दा महँगी बढ्नु स्वाभाविक हो अब त डलर र रुपैयाँको फरक पनि बढ्दै गएको छ ।
– रञ्जन श्रीवास्तव

दृष्टिकोण

गठबन्धन : फगत सत्ता

- केशव दाहाल

 

नेपालमा विजातीय गठबन्धनको उल्टो राजनीति चलिरहेको छ । यस्तो राजनीति, जसका कारण दलहरूको पहिचान र वैचारिक पक्षधरतालाई त ओझेल परेकै छ, राजनीति फगत सत्ता हो भन्ने कुरा पनी सँगसँगै स्थापित हुँदै गएको देखिन्छ । एकातिर पाँच दलको जोडघटाउ, अर्कोतिर बालकोटको अंकगणित । एकातिर कोटेश्वरको रुवाबासी, अर्कोतिर बूढानीलकण्ठ र खुमलटारको तमासा । राजनीतिका मूल एजेन्डाहरू ओझेलमा छन्, कसैलाई चिन्ता छैन । स्वच्छ र स्वतन्त्र चुनाव कसरी गर्ने, कसैलाई चासो छैन । गतिला उम्मेदवार कसरी छान्ने, मतलब छैन । हिजो न सरकार गतिलो भयो, न त नेतृत्वले आशा दियो । नागरिकका अनेक प्रश्न छन्, जवाफ दिनु पर्दैन । आफ्नै विगतलाई कसैले समीक्षा गर्दैन । चाहिने कुरामा सबै मौन, नचाहिने कुरामा होहल्ला । यस्तो लाग्छ, आजको राजनीति भनेको फगत गठबन्धन हो र हो फगत सत्ता ।
अहिले हाम्रा दलहरू राजनीति गरिरहेका छैनन् । बरु जसरी पनी चुनाव जित्ने जोडघटाउ गरिरहेका छन् । अथवा, हाम्रा दलहरूको पछिल्लो राजनीति नै जोडघटाउ हो । त्यसैले नेपाली राजनीतिमा एजेन्डाभन्दा चर्को सुनिँदै छ गठबन्धन । यो सबै देखिरहँदा मनमा केही बिब्ल्याँटा प्रश्नहरू उठ्छन् । जस्तो— हाम्रा दलहरू आफू एक्लै प्रतिस्पर्धाविहीन चुनाव लड्न पाए क्या आनन्द मान्थे होलान् । एक्लै कुदेर पहिलो हुने दौड । मानौं देशमा एउटा मात्र पार्टी छ, कांग्रेस । उसैले चुनावको घोषणा गर्‍यो, आफू एक्लै चुनाव लड्यो, ९९ प्रतिशत भोट ल्यायो र सत्ताको दाइँ गर्‍यो । क्या मज्जा ! अथवा मानौं, देशमा मात्र कम्युनिस्ट पार्टी छ । आफू एक्लै चुनावमा उठ्यो, जित्यो र रमायो । कमरेडहरूलाई क्या मस्ती ! हाम्रा दलहरू सायद यस्ता मनमौजी सपनाहरू पनि देख्छन् होला ? तर लोकतान्त्रिक राजनीतिको बाटो त्यस्तो हुँदैन । मानौं, यो देशमा मात्र एक दर्जन कम्युनिस्ट पार्टीहरू हुने र अरू कुनै पनी पार्टी नहुने हो भने राजनीति कस्तो हुन्छ होला ? किमार्थ राम्रो हुँदैन । किनभने कम्युनिस्टहरू मात्र भएको समाजमा लोकतान्त्रिक चेतना र उदारभाव अवरुद्ध हुन्छ । त्यसो भए कांग्रेस मात्र भए के हुन्छ ? त्यो पनि राम्रो हुँदैन । किनभने समाजको अर्को वैचारिकी संकुचित हुन पुग्छ । यसको अर्थ के भने, न यहाँ दलहरू एक्लै हिँडेर कतै पुग्छन्, न त अंकगणितले नै राजनीति हुन्छ । राजनीति गर्न फरक विचारहरूबीचको प्रतिस्पर्धा र प्रतिस्पर्धाहरूबीचमा उत्कृष्टता आवश्यक हुन्छ, जुन कुरा हाम्रो राजनीतिले गुमाउँदै गएको छ ।
विचार गरौं, मानव सभ्यता विविधतासहितको सप्तरंगी फूलबारी हो । विभिन्न रंग, सुगन्ध र शैलीको फूलबारी । विविधता नै हाम्रो सभ्यताको सुन्दरता हो । यिनै विविधता र उत्पादन प्रक्रियाहरूबीचको एकता र संघर्षबाट समाज बन्छ । सामाजिक चरित्र बन्ने मुख्य आधार यही हो । सामाजिक चरित्रले मान्छेहरूबीच एक अलग वैचारिकी निर्माण गर्छ । त्यो वैचारिकी क्रमशः राजनीतिक समूहमा फेरिन्छ । राजनीतिक समूहले पार्टी बनाउँछ । यो अर्थमा दलहरू भनेका समाजका विविधताहरूका राजनीतिक अभिव्यक्ति हुन् । निर्वाचन भनेको यिनै विविधताहरूबीचको प्रतिस्पर्धा हो । यसलाई अवरुद्ध गरेको समाज न लोकतान्त्रिक हुन्छ, न त गतिशील ।

फरक धार ः फरक पार्टी
हाम्रो विविधतालाई आधार बनाई हेर्दा, नेपालमा मूलतः ६ वटा राजनीतिक तस्बिरहरू देखिन्छन् । अर्थात्, हाम्रा वैचारिक विविधताहरू ६ प्रकारका राजनीतिक स्पेस वा धारमा आबद्ध छन् । पहिलो, उदार लोकतन्त्रवादी धार, जसको नेतृत्व मुख्यतः नेपाली कांग्रेसले गर्छ । कांग्रेस पुँजीवादी लोकतन्त्रको प्रतिनिधित्व गर्ने नेपालको एक मुख्य राजनीतिक शक्ति हो । यसले खुला समाज, परम्परागत संसदीय लोकतन्त्र, बजार अर्थतन्त्र र व्यक्तिगत स्वतन्त्रताको प्रवर्द्धन गर्छ । दोस्रो, मार्क्सवादी समाजवादी धार । यो धारको नेतृत्व मूलतः एमालेले गर्छ, जुन मार्क्सवादी
लेनिनवादी कम्युनिस्ट पार्टी हो । यो धारभित्र आजको नेकपा माओवादी र एकीकृत समाजवादीलगायत अन्य सानातिना कम्युनिस्टहरू पनि अटाउँछन् । यो धारले मार्क्सवादको जगमा उभिएर राज्यको स्वरूप र चरित्रलाई बदल्न चाहन्छ । तेस्रो धार हो— संघीयतावादी पहिचानवादी धार, जसभित्र मधेशवादी पार्टीहरू पर्छन् । विशेषतः लोसपा र जसपाजस्ता पार्टीहरू । चौथो धार उग्र वामपन्थी कम्युनिस्ट धार हो । यो समूहमा विप्लव, वैद्यलगायतका कम्युनिस्ट पार्टीहरू पर्छन्, जसले ग्रामीण विद्रोह, शसस्त्र संघर्ष वा बलपूर्ण क्रान्तिमार्फत जनगणतन्त्र नेपाल बनाउने सपना देख्छ । पाँचौं धार पुरातनवादी धार हो, जसभित्र राप्रपा वा राजावादीहरू पर्छन् । यो धारले गणतन्त्र, संघियता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धिहरूलाई इन्कार गर्छ । यिनीहरू राजतन्त्र पुनःस्थापनाको वकालत गर्छन् । छैटौं धारमा नयाँ, स्वतन्त्र र वैकल्पिक शक्तिहरू पर्छन्, जो जनआन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै अझ अगाडि जान चाहन्छन् ।
यसको अर्थ दलहरू फरक छन् । यही फरकपन नै राजनीतिक दलहरूको मुख्य पहिचान हो । यही फरकपनले नै राजनीतिक दलहरूको अर्थ र औचित्य स्थापित गर्छ । यिनै फरक धारहरूले हाम्रो समाजका फरक सपनाहरूको प्रतिनिधित्व गर्छन् । यो हाम्रो राजनीतिको सुन्दर विविधता हो । र, यही विविधता नै नेपाली राजनीतिको चरित्र हो । अतः हाम्रो जस्तो समाजमा विद्यमान राजनीतिक विविधताले खुलेर चुनावी प्रतिस्पर्धा गर्न पाउनुपर्छ । अनि मात्र सामाजिक मनोविज्ञानहरूले अभिव्यक्त हुने ‘स्पेस’ पाउँछन् । अन्यथा राजनीतिक अभिव्यक्ति अवरुद्ध हुन्छ र त्यसबाट नयाँ द्वन्द्व सृजना हुन्छ । त्यसैले हामीले एकदलीय राजनीतिक प्रणालीलाई अस्वीकार गरेका हौं । लोकतान्त्रिक समाजको सुन्दरता नै बहुविचारहरूबीचको प्रतिस्पर्धा हो ।

सुल्टो बाटो
स्पष्ट छ, फरक राजनीतिक धारहरूको स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धाले मात्र हाम्रो लोकतन्त्र प्रभावकारी हुन्छ । देखिएका फरक राजनीतिक धारहरूलाई मतदाताले स्वविवेकले छान्न पाउने चुनाव मात्र हाम्रो सन्दर्भमा प्रभावकारी चुनाव हो । अन्यथा मतदाताहरूले आफ्नो अभिमत जाहेर गर्ने कसरी ? मान्छे गणतन्त्रवादी छ, भोट हाल्नुपर्छ राप्रपालाई । मान्छे कम्युनिस्ट हो, भोट खसाउँछ कांग्रेसलाई । यस्तो निर्वाचन कसरी प्रभावकारी हुन्छ ? निश्चय नै, उस्तैउस्तै पार्टीहरू एकीकृत हुनु राम्रो । तर फरकफरक पार्टीहरूबीच प्रतिस्पर्धा हुनु अझ राम्रो कुरा हो । अवश्य नै, विचार र एजेन्डा मिल्नेहरूबीच गठबन्धन भएको राम्रो । तर एजेन्डा र राजनीति नमिल्नेहरूले गठबन्धन नगरेको अझ राम्रो । अन्यथा मतदाताहरूलाई धोका हुन्छ । र, यसरी हाम्रो लोकतन्त्र कसै गरी प्रभावकारी हुँदैन ।
आजको अपेक्षा के भने, आफ्ना विचार, मुद्दा र सपनाहरूसहित दलहरू एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरून् । गठबन्धन गर्नैपरे वैचारिक र मुद्दागत गठबन्धन होस् । जस्तो— मार्क्सवादीहरूको एउटा गठबन्धन होस्, उदार प्रजातन्त्रवादीहरूको अर्को । वैकल्पिक राजनीतिको कुरा गर्नेहरू एक ठाउँमा उभिऊन् र परम्परावादीहरू पनि मिलेर चुनाव लडून् । अनि पो जनताले निर्बाध आफूलाई मन पर्ने पार्टी वा गठबन्धनलाई भोट हाल्न पाउँछन् । अनि मात्र निर्वाचनले स्थायित्व दिन्छ । अनि मात्र सरकारले दिशा लिन्छ । राजनीतिको सुल्टो बाटो यही हो । अन्यथा दक्षिणपन्थीहरूले वामपन्थी समाउने,
लोकतन्त्रवादीहरूले माओवादी समाउने ? यो गाईजात्रा गरेर हाम्रो राजनीतिले सुल्टोबाटो समाउँछ कसरी ?

उल्टो बाटो
तर, जब गठबन्धन वैचारिक र एजेन्डागत नभई निहित सत्तास्वार्थबाट प्रेरित हुन्छ तब राजनीति उल्टो हिँड्न थाल्छ । उल्टो हिँडेको राजनीति कहिल्यै सही गन्तव्यमा पुग्दैन । त्यसैले नै आजको नेपाली राजनीति कुहिरोमा हराइरहेको छ । मानौं उदार लोकतन्त्रसहितको पुँजीवादी एजेन्डा भएको कांग्रेस र जनयुद्धको अगुवा माओवादी पार्टी गठबन्धन गरेर चुनाव जित्छन् त भोलि बन्ने सरकार कस्तो हुन्छ ? सत्तामा एकातिर समाजवादी, अर्कोतिर पुँजीवादी । समाजवादी र पुँजीवादीहरूले मिलेर चलाउने सरकारको चरित्र कस्तो होला ? त्यसले आर्थिक नीति कस्तो ल्याउला ? जनजीविकाका सवालमा के निर्णय गर्ला ? मानौं, गणतन्त्रवादी एमाले र राजतन्त्रवादी राप्रपा मिलेर चुनाव लड्छन् त उनीहरूले गर्ने भविष्यको राजनीति कस्तो होला ? अर्थात्, एमालेजस्तै राप्रपा हामीलाई किन चाहियो ? कांग्रेसजस्तै माओवादी वा माओवादीजस्तै कांग्रेस हामीलाई किन चाहियो ? अथवा, मधेशवादीजस्तै एकीकृत समाजवादी हामीलाई किन चाहियो ?
स्पष्ट छ, गठबन्धनको लय सजातीय हुनुपर्छ । अन्यथा विजातीय गठबन्धनको अर्थ हुन्छ— राजनीतिमा विचारको अन्त्य । राजनीतिमा मुद्दाहरूको अन्त्य । राजनीतिमा दलीय विविधताको अन्त्य । यस्तो भएपछि कांग्रेसले आफूलाई उदार लोकतन्त्रवादी भन्नुको के प्रयोजन ? माओवादीले आफूलाई कम्युनिस्ट भन्नुको के अर्थ ? जब विगत ३० वर्षदेखी कांग्रेसलाई भोट हाल्नेहरूले आउने चुनावमा फेरि पनि रूखमा भोट हाल्न पाउँदैनन् त उनीहरूका लागि कांग्रेस किन चाहियो ? कम्युनिस्टहरूलाई भोट हाल्ने मतदाताले जब राप्रपालाई भोट हाल्नुपर्छ त उनीहरूलाई कम्युनिस्ट पार्टी किन चाहियो ? अथवा, जब पार्टीहरूमा वैचारिक भिन्नता र अर्थ सकिन्छ त फरक पार्टीहरू नै किन चाहिए ? जब एजेन्डाअनुसार मतदाताले मत खसाउन पाउँदैनन् त दलहरूका एजेन्डा नै किन चाहिए ? कांग्रेसले अबका दिनमा यसरी नै प्रतिस्पर्धा गर्ने हो भने कांग्रेस हुनुको प्रयोजन कसरी पुष्टि हुन्छ ? कम्युनिस्टहरूले अबका दिनमा यसरी नै प्रतिस्पर्धा गर्ने हो भने कम्युनिस्ट हुनुको प्रयोजन कमरेडहरूले कसरी पुष्टि गर्छन् ?
के राजनीति फगत सत्ताको खेल हो ? कि हो समाजलाई दिशा निर्देश गर्ने एक बृहत्तर प्रयत्न ? यो राजनीतिमा आउने खास प्रश्न हो । फरक पृष्ठभूमिका राजनीतिक दलहरू जब चुनावमा गठबन्धन गर्छन् त प्रतिस्पर्धा कसरी स्वच्छ, वैचारिक र राजनीतिक हुन्छ ? अहिले जेजस्ता गठबन्धन हुँदै छन्, यस्ता खाले गठबन्धनले नेपालको वैचारिक राजनीतिलाई गम्भीर आघात दिने पक्का छ । यो प्रयत्नले स्वयं दलको इतिहास र भविष्य त सकिन्छ नै, राजनीतिक पक्षधरताको समेत
अन्त्य हुन्छ । यसरी हाम्रो राजनीतिले न जनताका सपनाहरूको प्रतिनिधित्व गर्छ, न त यसरी हाम्रो राजनीतिले मूलबाटो नै समाउँछ ? राजनीति फगत सत्ता होइन, यो समाजको वैचारिक अभिव्यक्ति हो । दलहरूले विचार, मुद्दा र सपनाहरूको जसरी सत्यानाश गर्दै छन्, त्यसको परिणाम गम्भीर, अराजनीतिक र उल्टो हुने पक्का देखिन्छ । मतदाताहरूले होस गरौं ।

Page 9
दृष्टिकोण

शास्त्रीय चिन्तनमा पशुबलि

- रामचन्द्र गौतम

 

हिमाल पहाड तराईलाई आफूमा समाहित गरेकोÙ वनजंगल, पाखापखेरा, उकाली–ओराली आदिले मनोरम बनेकोÙ अनेक नदनदी, तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ आदिको विद्यमानताले परम पावन हुन पुगेको छ नेपालभूमि । शान्त, सुन्दर, रमणीय, सबैका निम्ति आकर्षक यो भूमिमा अनेक वर्ण, जाति र सम्प्रदायका मानिस बसोबास गर्छन्Ù परस्परको स्नेह, सद्भाव, सहयोग, समन्वयका साथ आ–आफ्ना पूर्वजहरूद्वारा प्राचीनकालदेखि आचरित एवं परिपालित धर्म, कर्म, संस्कार, संंस्कृतिको अनुसरण गर्छन् । अनुसरण वा उपासना गरिने संंस्कृतिहरूमा, राष्ट्रलाई चिनाउने राष्ट्रियताका रूपमा रहेका जगदीश्वरी दुर्गा भवानीको पूजा–आराधना गरेर मनाइने बडादसैंजस्ता चाडपर्व र अन्य जात्रा–मात्रा, उत्सव आदि पर्छन् । यी चाडपर्वहरू सबैले श्रद्धा, आस्था, उत्साह, उमंग र रामरमिताका साथ मनाउने गर्छन् । यसरी मनाइने वा पुजिने देवताहरूमा भैरव, भीमसेन आदि पर्छन् भने देवीहरूमा काली, भद्रकाली, चण्डिका, चामुण्डा, कालरात्रि आदि अनेक नामका दुर्गादेवीहरू पर्छन् । समाराधित, सम्पूजित यी देवदेवीहरूलाई शास्त्रको निर्देशअनुसार निष्ठाका साथ आ–आफ्नो परम्पराअनुरूप बोका, भेडा, राँगा आदि पशुको र हाँस, कुखुरा आदि पन्छीको विधिपूर्वक बलि (भोग) पनि दिने गर्छन् । यसरी पशुपन्छीको बलि दिने शास्त्रीय चलन आर्यावर्त (भारतवर्ष) को शीर्षस्थान आर्य तपोभूमि हाम्रो नेपालमा आदिमकालदेखि नै अविच्छिन्न चलेर आइरहेको छ ।
देवतालाई जगत्पिता मानिएको छ भने देवीलाई जगन्माता । यस्ता पितृ–मातृका स्थानमा स्थापित देवदेवीले आफ्ना सन्तानका रूपमा रहेका पशुपन्छीको भोग कदापि खाँदैनन्Ù उनीहरूले नखाने वस्तुको भोग दिनु शास्त्रविपरीत हो, धर्मविरुद्ध हो, पशुपन्छीको बाँच्न पाउने अधिकारको हनन गर्नु होÙ त्यस कारण देवदेवीलाई पशुपन्छीको बलि दिने चलन तत्काल बन्द गर्नुपर्छ भन्ने तीव्र आवाज हाम्रै समाजका केही मानिसबाट चर्को रूपमा आइरहेको छ । यसरी एक थरी मानिसले पशुबलि दिनुपर्छ भन्छन् भने अर्का थरी मानिस दिनु हुँदैन भनी विरोध गर्दै आएका छन् । यस्तो किन भइरहेको छ, यसमा वास्तविकता के छ र शास्त्रीय निर्णय केकस्तो छ भन्ने कुराको यथार्थ जानकारी सर्वसाधारणलाई गराउनु नितान्त आवश्यक छ । यहाँ यही विषयलाई शास्त्रीय निर्णयका आधारमा उठाउने प्रयत्न गरिएको छ ।
नेपालमा विशेषतः शैव, शाक्त, सौर, गाणपत, वैष्णव आदि सम्प्रदायका मानिस बसोबास गर्छन् । वैष्णवचाहिँ दुई प्रकारका छन्— वैष्णवी दीक्षा ग्रहण गरी विष्णु वा विष्णुका राम, कृष्ण आदि कुनै अवतारलाई मात्र प्रधानता दिने वैष्णव र वैदिक धर्म–अनुयायी वैष्णव ।
वैदिक धर्म–अनुयायीहरूमा केही स्मार्त छन् भने केही वैष्णव । त्यस्तै, शाक्तहरूमा पनि दुई थरी नै छन्— दक्षिणाचार र वामाचार । जल, अर्घ, पञ्चामृत आदि सात्त्विक वस्तु समर्पण गरेर देवीको पूजा–उपासना गर्ने शाक्त दक्षिणाचार हुन् भने रक्त, मांंंंंंस, मद्य आदि राजस एवं तामस पदार्थ चढाएर देवीको अर्चना–उपासना गर्ने शाक्त वामाचार हुन् । वामाचार बाहेकका शाक्तहरू र वैदिक–इतर वैष्णवहरूले नै प्रायः पशुबलिको निषेध गरेको पाइन्छ । पशुबलिको निषेध गर्ने शाक्तहरू र निषेधन नगर्ने वैदिक धर्मावलम्बी वैष्णवहरू गणेश, सूर्य, देवी, शिव, विष्णु सबै देवताको पूजा गर्छन् । कसैले विष्णुलाई मुख्य मान्छन् भने कसैले शिव, कसैले देवी, कसैले सूर्य र कसैले गणेशलाई । यी सबैको एकै ठाउँमा नित्य पूजा गर्दा जल–चन्दन आदि सात्त्विक वस्तु मात्र चलाउने गरिन्छ । तिथि, बार, नक्षत्र, मास, पक्ष आदि विशेष पर्व पारेर देवीको मात्र पूजा गर्ने र कुलदेवताको पूजा गर्ने वैदिक धर्म–अनुगामी कसैले गन्ध–अक्षता–पुष्प आदि सात्त्विक पदार्थ मात्र चढाएर पूजा गर्छन् भने कसैले गन्ध–अक्षता आदिका साथ आफ्नो कुल–परम्पराअनुसार पशुपन्छीको बलि चढाएर राजस पूजा गर्छन् ।
सात्त्विक, राजस, तामस गरी तीन प्रकारका पूजामा ब्राह्मणले चाहिँ सात्त्विक पूजा मात्र गर्नुपर्ने शास्त्रीय विधान छ । तर ब्राह्मणहरू पनि चरित्र, क्रियाकर्म, आचरण, पेसा आदिका हिसाबले धेरै प्रकारका हुन्छन् । जस्तै— ब्रह्मसम, देवसम, ऋषिसम ब्राह्मणÙ अनुचान ब्राह्मण/क्षत्रीयसम र वैश्यसम ब्राह्मण । त्यसपछि हुन्छन्— शूद्रसम, निषादसम, चाण्डालसम, म्लेच्छसम र पशुसम ब्राह्मण । यस्ता ब्राह्मणहरूमा ब्रह्मसमदेखि अनुचानसम्मका विशुद्ध ब्राह्मणहरूका निम्ति मात्र सात्त्विक पूजाको विधान छ । यो विधान पनि देवी र कुलदेवताको पूजा गर्दा मात्र लागू हुने होÙ सोमयाग–निरूढ पशुबन्धयाग आदि महत्तम वैदिक यज्ञमा त यी विशुद्ध मानिने ब्राह्मणले पनि पशुबलि दिनैपर्ने हुन्छ । वध मात्र गर्ने होइन, वध गरिएको पशुको मांसभक्षण यज्ञ गर्ने कर्ता र गराउने आचार्य, ऋत्विक आदि ब्राह्मणले पनि गर्नैपर्छ । नगरेमा पाप भागी हुनुपर्छ भनी मनु–वशिष्ठ आदि शास्त्रप्रवर्तकले ठोकुवा नै गरेका छन् ।
क्षत्रीयसम र वैश्यसम ब्राह्मणले देवीको राजस पूजा नै गर्नुपर्ने हुन्छ । शूद्रसमदेखि पशुसमसम्मका ब्राह्मणले चाहिँ आआफ्नो चलनअनुसारको राजस वा तामस जुन पूजा गर्दा पनि हुने देखिन्छ । त्यसपछि क्षत्रीय, वैश्य र मूर्धावसिक्त आदि अनुलोम ३६ प्रकारका जातिका निम्ति राजस पूजाको मात्र निर्देश शास्त्रले गरेको छ । शूद्रसमेतका जाति, जनजाति, दलित र सूतवैदेहक आदि प्रतिलोम संकर जातिका निम्तिचाहिँ मासु र रक्सीसमेतको तामस पूजाको बलियो विधान शास्त्रद्वारा प्रतिपादित छ । तर तामस पूजा गर्नुपर्ने जातिले मद्यबिनाको राजस पूजा, मद्यमांस दुवै नभएको पुष्प–अक्षता आदिले युक्त साधारण पूजा पनि गर्न सक्छन् र त्यसको चलनसमेत छ । त्यस्तै, राजस पूजामा अधिकार प्राप्तलाई सात्त्विक पूजामा पनि अधिकार हुन्छ ।
सात्त्विक पूजामा नपर्ने राजस र तामस पूजाभित्र पर्ने पशुबलिको विस्तृत विधान सनातन धर्मको मूलस्थानमा प्रतिष्ठित वेद, वेदको व्याख्या स्मृति नामले प्रसिद्ध लोकधर्म प्रतिपादन गर्ने धर्मशास्त्रमा, शिवजीको मुखारविन्दबाट निःसृत आगमसंज्ञा पाएको तन्त्रशास्त्रमा पनि पाइन्छ । शैवतन्त्र, शाक्ततन्त्र, सौरतन्त्र, गाणपततन्त्र आदि सबै तन्त्रशास्त्र एवं कालिका पुराण, देवी पुराण, भविष्य पुराण, विष्णु धर्मोत्तर पुराण, सौर पुराण, मार्कण्डेय पुराण आदि अनगिन्ती पुराणले त्यस्तो विधानबारे दिशा निर्देश गरेका छन् । यिनै शास्त्रको विधानअनुसार पशुबलि कुनै विशेष तिथि–बारमा, चैत्रशुक्ल, आश्विनशुक्ल आदि पर्वविशेषमा र निरूढ पशुबन्धयाग, सोमयाग आदि पूर्णवैदिक यज्ञमा गरिन्छ । नेपालमा पशुबलि विशेषतः दसैंमा बढी हुने गरेको छ । दुर्गाको पूजा–उपासनाका निम्ति विशिष्टकाल दसैं बडादसैं, शारदोत्सव, नवरात्र, दुर्गोत्सव आदि नामले पनि प्रसिद्ध छ । यस्तो पवित्रतम विविध नामले प्रख्यात दसैं भगवती दुर्गा भवानीको तृप्तिका निम्ति पुण्यतम पर्व हो । यो पर्वमा दुर्गा भवानीको प्रसन्नता, तृप्ति, सबलता, सन्तुष्टि, अजेय शक्ति सम्पन्नताका निम्ति पशुबलि दिनुपर्ने अकाट्य एवं अखण्डनीय विधान शास्त्रले गरेको छ ।
यस्तो विधान गर्दागर्दै पनि केही मानिसले देवदेवीलाई पशुबलि दिनु सर्वथा गलत हो भनिरहेका छन् । त्यो भन्नु उनीहरूले शास्त्रको मर्म बुझ्न नसक्नु हो । देवी तत्त्व के हो, कसरी कुन शक्तिद्वारा दुर्वृत्तको विनाश गरी देवता, मनुष्य आदि सद्वृत्तको रक्षा गर्छिन् भन्ने कुराको ज्ञान गर्न नसक्नु हो ।
पशुबलि बन्द गर्नुपर्ने आवाज उठाई शाक्त–इतर सम्प्रदायले शक्तिका उपासकहरूको बलि दिन पाउने अधिकारमा रोक लगाउन खोज्नु अनुचित हो, वेदविरुद्ध हो । वेदको ‘माहिंस्यात् सर्वाभूतानि’ वाक्यको खास अर्थ हो— बिनाविधि हिंसा नगर, विधि पुर्‍याएर मात्र जीवहिंसा गर । वेदले सोमयाग–निरूढ पशुबन्धयाग जस्ता विशिष्ट यज्ञको विधान गरेको छ । ती यज्ञमा पशुवध गर्नैपर्छ । वध गरिएको पशुको प्रत्येक अंगको मन्त्रपूर्वक यज्ञीय अग्निमा हवन गर्नुपर्छ र शेषमांस यज्ञमा बस्ने सबैले खानुपर्छ ।
जसले शक्तिकी अधिष्ठातृ देवी भगवती दुर्गाको उपासना गर्दैनन्, जजसले वैष्णवीदीक्षा लिएर वा नलिएर पनि विष्णु वा विष्णुका कृष्ण आदि कुनै अवतारलाई मात्र प्रधानता दिने गरेका छन्, जसको कुलमा देवदेवीलाई पशुबलि दिने परम्परा छैन, जो वेदमूलक नभएको निर्मूल धार्मिक सम्प्रदायमा लागेका छन्, त्यस्ता मानिसले, निवृत्तिमार्गमा लागेका योगी–सन्त–महन्त–महात्माहरूले र आचरण, कर्म आदिद्वारा पूर्ण रूपमा ब्राह्मणत्व संरक्षण गरिरहेका विशुद्ध ब्राह्मणले पनि यज्ञमा बाहेक देवीको पूजाआजामा पशुबलि दिनुपर्ने निर्देश शास्त्रले गरेको छैन ।
पशुबलि दिनुपर्ने आदेश शास्त्र–प्रयोजकले ती मानिसलाई दिएका छन्, जसले घरपरिवार, धनसम्पत्ति, मानसम्मान, पदप्रतिष्ठा, भोगविलास आदिमा आसक्त भई गृहस्थ आश्रममा बसी प्रवृत्ति मार्गलाई आत्मसात् गरेका छन् । त्यस्ताले अनि देश र जनताको हितका निम्ति राज्यले पनि पशुबलि शास्त्रीय मान्यताअनुसार दिनुपर्छ ।
राज्यले राज्य सुसञ्चालनका निम्ति प्रभुशक्ति, मन्त्रशक्ति, उत्साहशक्तिको आर्जन गर्नु अत्यावश्यक हुन्छ । यिनीहरूको सञ्चयन भगवती दुर्गाको पशुबलिका साथ गरिएको पूजा–उपासनाबाट मात्र हुन सक्छ भन्ने शास्त्र–प्रणेताको दृढ धारणा छ । यही आधारमा नेपालमा जनताको उन्नति, प्रगति, सुस्वास्थ्य, सुरक्षा र सुखशान्तिका निम्ति दसैंजस्ता विशिष्ट पर्वमा राज्यका तर्फबाट संस्थापित तथा समाराधित भगवती दुर्गालाई र भद्रकाली, दक्षिणकालीजस्ता विभिन्न शक्तिपीठमा पनि पूजाआजा गरी श्रद्धा, आस्था र विश्वासका साथ विधिपूर्वक पशुपन्छीको बलि चढाउने गरिन्छ ।
दसैंजस्ता पर्वमा भुवनेश्वरी भगवती दुर्गाको जुन रीतले पूजा–आराधना गरिन्छ, त्यसलाई शास्त्र–प्रवर्तकले सुख, शान्ति, प्रगति र इच्छापूर्तिको पूर्ण आधार महान् यज्ञका रूपमा स्थापित गरेका छन् । त्यसैले यज्ञमा विधिपूर्वक गरिने पशुबलिलाई शास्त्रले हिंसा (वध) मानेको छैन । अहिंसा (अवध) मानिएकैले दुर्गापूजा आदिमा पशुबलि दिने चलन चल्दै आएको हो । यसको पुष्टि शास्त्रहरूले यसरी गरेका छन्—
यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयंभुवा ।
अतस्त्वां धातयाम्यद्य तस्माद्यज्ञे वधोऽवधः ।।
– कालिका पुराण

तस्यां ये ह्युपयुज्यन्ते प्राणिनो महिषादयः
सर्वे ते स्वर्गतिं यान्ति घतां पापं न विद्यते ।।
– भविष्यपुराण

एवं हृष्टैर्निशां नीत्वा प्रभाते अरुणोदये ।
घातयेन्महिषान्मेषानग्रतो नतकन्धरान् ।।
शतमर्धशतं वापि तदर्धं वा यथेच्छया ।
सुरासवधृतैः कुम्भै स्तर्पयेत्परमेश्वरीम् ।।
–निर्णयसिन्धु, पृ. २३५

व्रतं च जागरश्चैव नवम्यां विधिवद्बलिः ।
पशुघातश्च कर्तव्यो गवयाजवधस्तथा ।।
– देवीपुराण

मानिसले भगवतीलाई दिएको पशुबलिको अवलोकनबाट देवताहरूले पनि अति प्रसन्न एवं विश्वस्त हुँदै यस्तो उद्घोष गरेका छन्— अब पशुपन्छीको भोग प्राप्त गरेपछि भगवती दुर्गा शक्तिशालिनी बन्न पुग्छिन् र असुर, मनुष्य आदिमा जति पनि दुष्टहरू छन्, तिनीहरूको विनाश गरी वा तिनलाई सन्मार्गमा प्रवृत्त गराई देवता, सद्वृत्त एवं चराचर जगत्कै संरक्षण गर्न समर्थ हुन्छिन् ।
जगतितलमा समुद्भव प्राणी मात्रको एक मात्र अन्तिम उद्देश्य हुन्छ— यो दुःखरूपी संसारबाट मुक्ति पाउनु । विवेकशील प्राणी मानिसको मुक्तिका निम्ति जप, तप, तीर्थ, व्रत, दया, दान, उपकार आदि अनेक उपाय शास्त्रदर्शित छन् । तर विवेकहीन पशुपन्छीका निम्ति यी कुनै पनि उपाय सार्थक हुँदैनन् । उनीहरू मुक्त हुने एक मात्र उपाय भनेको देवदेवीको
स्थानमा र यज्ञयज्ञादिमा विधिपूर्वक बलि हुन पाउनु नै हो । देवस्थल,
यज्ञस्थल आदि पवित्रतम स्थानमा पूजा–उपकरणद्वारा सम्पूजित,
सम्मानित, समादृत भई श्रवणीय (मोक्षप्रद) मन्त्र श्रवण गरी बलि हुन पाउनु तिनीहरूका निम्ति सौभाग्य हो । पशुपन्छीलाई परम गतिमा पुर्‍याउन सक्ने मानिस मात्र हुन् ।
गौतम पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष हुन् ।

दृष्टिकोण

दसैंमा पनि ‘बिदा’ नपाउने महिला

- मञ्जु भट्ट


मेमे रो चिनजानकी एक बहिनी राजधानी सहर काठमाडौंमा बस्छिन् । २०५२–६२ सालसम्म चलेको द्वन्द्वकालका बेला दुर्गम गाउँमा बस्न नसकने भएपछि सहर पस्नुको विकल्प थिएन उनलाई । अहिले श्रीमान्–श्रीमती नै जागिरे छन् । दुई छोराछोरी हुर्काइसके । उनले दुई महिना सुत्केरी बिदाबाहेक छोराछोरी हुर्काउन अफिसबाट कहिल्यै छुट्टी लिइनन् । बच्चाहरू सानो हुँदा उनीहरूका थाङ्ना, श्रीमान्का लुगा, आफ्नै लुगासमेत धुन्थिन् । बिहानबेलुकी घरको काम, सरसफाइ, पाहुनाहरूको स्वागत सबै गर्नुपर्थ्यो नै । श्रीमान्–श्रीमती दुवै जागिरे भए पनि घरायसी काममा उनी नै घोटिनुपर्थ्यो । श्रीमान् कार्यालयको काम मात्र गर्थे ।
प्रत्येक नेपाली परिवारको कथा उनीसँग लगभग मिल्छ । पितृसत्तात्मक सोचले जरा गाडेको समाजमा जागिरे भए पनि घरको काम महिलाले नै गर्नुपर्छ । कतिसम्म भने, श्रीमान्का साथीहरू घर आउँदा श्रीमती नै भान्सामा पस्नुपर्ने बाध्यता छ । यस्तो कहिलेसम्म ? श्रीमतीले आफ्ना साथीहरू घर आउँदा आफैंले चिया बनाउनुपर्छ तर यही काम श्रीमान्ले किन गर्न सक्दैनन् ? दुवै मिलेर पनि त गर्न सकिन्छ । तर नेपाली परिवारमा श्रीमान्–श्रीमती मिलेर घरायसी काम गरेको विरलै मात्र देखिन्छ । हुन त, श्रीमतीलाई घरायसी काममा सहयोग गर्ने श्रीमान्लाई ‘जोइटिंग्रे’ भन्न पनि पछि पर्दैन हाम्रै
समाज । बिनापारिश्रमिक जीवनभर गृहणीका रूपमा रातदिन घरको काम गर्ने, सबैको ख्याल गर्ने महिलाको कामको तुलना ‘आखिर परिवार मैले पालेको छु’ भन्ने पुरुषको धाकसँग कदापि गर्न सकिँदैन । दुवैले आआफ्नो सीपअनुसार उत्तिकै काम गरेको भए पनि तलब थाप्ने जागिरे पुरुष र बिनातलब
काम गर्ने गृहिणी महिलालाई हेर्ने नजरमा परिवर्तन गर्न अति जरुरी भइसकेको छ ।
घरबाहिर बसेर पढेका युवाहरूमा घरायसी काम पनि मिलेर गर्नुपर्छ भन्ने अलिअलि चेतना पलाएको देखिन्छ । कतिपय सेना, पुलिसमा जागिर गर्नेहरू घरायसी काम गर्न हिचकिचाउँदैनन् । श्रीमतीका लुगाहरूसमेत धोएको देखिन्छ । यदि श्रीमतीले श्रीमान्का लुगाहरू धुन अप्ठेरो मान्दिनन् भने श्रीमान्ले पनि श्रीमतीका लुगा धोइदिनु पर्ने हो । तर यस्तो खासै समाजमा देखिन्न । औंलामा गन्न सकिने केही पुरुषले मात्रै श्रीमतीलाई भान्साको काम गर्न मद्दत गर्छन् । श्रीमतीले गर्ने घरभित्र, घरबाहिरका जुनसुकै
काम गर्न पछि पर्दैनन् । तर कहिलेकाहीँ यस्ता कतिपय पुरुषहरूसमेत परिवारका अगाडि निरीह बनिदिन्छन् । घरको कामजति सबै श्रीमतीलाई
सुम्पन गाह्रो मान्दैनन् । परिवारको अगाडि न त काम गर्न सक्छन्, न केही बोल्न नै । पढेलेखेका सक्षम पुरुषहरूले अब परिवारको यस्तो सोचलाई बदल्न सक्नुपर्छ ।
सहरी परिवेशमा रमाएका कतिपय परिवारमा अझैसम्म पनि छोराको बिहे गर्नु भनेको काम गर्न बुहारी भित्र्याउनु हो भन्ने ठानिन्छ । यसै सन्दर्भमा हालैको एउटा घटना उल्लेख गर्न चाहन्छु । मेरी छिमेकी नानीलाई कलेज पढ्न छुटाएर २२ वर्षको उमरमै विदेशमा बस्ने केटासँग बिहे गरियो । कमाइ राम्रै देखेपछि केटी पक्षले बिहे गराइदिने निर्णय गरे । केटी पक्षले बिहेपछि आफूसँगै लैजानुपर्ने, सासुससुरासँग बस्नु नपर्ने सर्त राखेका थिए ।
यसलाई केटा पक्षले सहजै स्विकारेका थिए । सहरमा जन्मेकी, पढेलेखेकी केटीलाई पनि बिहेपछि, गाउँमा आमाबुबासँग गएर बस, उनीहरूको
सेवा गर्नैपर्छ, बुहारीको कर्तव्य निभाउनै पर्छ नत्र वैवाहिक सम्बन्ध धेरै दिन टिक्दैन भनिन्छ । सो केटाले बिहेपछि केटीलाई केही समय आफूसँगै विदेश लगेका पनि थिए । पछि के भयो, केटी यतै फर्किइन् । आमाबुबा अति नै रूढिवादी छन् भन्ने थाहा पाउँदापाउँदै पनि केटाले उनलाई नेपाल नै फर्काइदियो । अहिले केटीलाई बस्ने भए आमाबुबासँगै बस होइन भने छोड्दे भनेर धम्क्याइन्छ रे !
अझ चाडवाडका बेला पितृसत्तात्मक सोचले महिलालाई झनै
पिल्स्याउँछ । दसैं, तिहार, छठजस्ता पर्वमा धेरैजसो जागिरेलाई बिदा पनि लामै हुने गर्छ । कतिपय जगिरे महिला पनि फुर्सदमा हुन्छन् । तर यो बेला पुरुषको तुलनामा उनीहरूले निर्धक्कसँग दसैं मनाउन पाउँदैनन् । अरु
बेला गर्न नभ्याइएका घरायसी कामका चाङ थुप्रिरहेका हुन्छन् । त्यसमाथि चाडावाडका बेला महिलालाई अरु बेलाभन्दा बढी भान्सामा खटिनुपर्छ । पाहुनालगायत परिवारका प्रत्येक सदस्यको इच्छाअनुरूप पकवान
बनाउनुपर्ने हुन्छ । दसैंमा मासुका भाँडा माझ्दैमा र तिहारमा घरको सरसफाइलगायत गर्दैमा धेरैजसो महिला थकित हुन्छन्, बिरामी नै पर्छन् । घरका सबै सदस्यले मिलेर काम गरे महिलाले पनि चाडवाड आरामले
मनाउन पाउँथे । आफ्नो मात्र नभई एकअर्काको खुसीको जिम्मा पनि परिवारका सबै सदस्यले लिनुपर्छ । चाडवाडमा आफन्त भेटघाट गर्न,
नयाँ लुगा लगाउन, मिठोमसिनो खान, आराम गर्न महिलाले पनि
पाउनुपर्छ । त्यसका लागि परिवारले उनीहरूलाई साथ दिनुपर्छ । नत्र दसैंले उनीहरूलाई खुसी बनाउँदैन । कहिले पनि छुट्टी नपाउने महिलाको ‘जागिर’ लाई पुरुष सदस्यहरूले पनि सहयोग गर्नुपर्छ । अनि मात्र सही अर्थमा महिलाका लागि दसैं आउनेछ ।

दृष्टिकोण

आन्तरिक ऊर्जाको पर्व नवरात्रि

- कृष्णप्रसाद न्यौपाने


बडा दसैंलाई राम्रो खाने–लाउने, अग्रजहरूसँग आशीर्वाद लिने र रमाइलो गर्ने पर्वका रूपमा मात्र सीमित राखेर हामीले धेरै लाभ लिन सक्ने अवसर गुमाएका छौं । यी मनोरञ्जन त केवल शरीर र मनसँग सम्बन्धित पाटा हुन् । शरीर र मन त हाम्रा खोल मात्र हुन् । यिनको पनि आवश्यकता त छ तर हामी शरीरभित्रको चेतना वा ऊर्जाका अंश हौं । चेतनाको अंश यिनै खोल ओढेर विगतका कर्मका आधारमा खेलमा सामेल हुन्छ, धेरै हदसम्म पहिला नै निर्धारित खेलमा । अनि मानिसको जीवनको उत्कर्षको अनुभव गर्न नपाई यी खोल छोडेर जान्छ ।
शारदीय नवरात्र आफ्नो चेतना वा अस्तित्व वा परिचय उत्खनन गर्ने एउटा अमूल्य अवसर हो । नवरात्रिमा माता दुर्गाको विधिपूर्वक तपस्या–साधना गर्दा आफ्नो सूक्ष्मता महसुस गर्न सकिन्छ । एउटा दसैंमा एक पटक यो अनुभूति गर्न सके पनि धेरै हुन्छ । जीवनमा सकारात्मकता र आत्मविश्वास बढ्दै जानेछ ।
हामीले पुर्खाहरूले अथक साधनाबाट पत्ता लगाएका अनेकौं साधना पद्धतिको जीवन्त
अभ्यास गर्न सकेका छैनौं, न तिनको अध्ययन–अनुसन्धान नै गर्न सकेका छौं । हाम्रो शरीरमा
थुप्रै ऊर्जा केन्द्र छन् (हेर्नुस् तालिका) ।
शरीरका सात चक्रलाई सक्रिय गराउन त धेरै नै दुरूह हुन सक्छ तर आज्ञाचक्र, मुटु र मूलाधार चक्रमा केही स्पन्दन ल्याउन त्यति कठिनचाहिँ छैन । इच्छाशक्ति भएमा यति त गर्न सकिन्छ । यसका लागि धेरै समय वा स्रोतको आवश्यकता पनि पर्दैन । केही सामान्य विधि प्रयोग गरेर नवरात्रको प्रत्येक दिन एक घण्टाको साधना गर्न सक्दा हुन्छ ।

साधना विधि
घटस्थापनाको दिनदेखि शुद्ध पवित्र भएर बस्ने । घरमा दुर्गा, काली, लक्ष्मी, सरस्वतीका फोटा–प्रतिमा जे छन्, सम्मुखमा राख्ने । ‘म हजुरको अंश हुँ, हजुर मेरी आमा हुनुहुन्छ’ भन्ने भाव राख्ने । अनुकूलताअनुसार पूजा गर्ने । दुर्गा सप्तशती, सिद्ध कुञ्जिका स्तोत्र पाठ गर्ने । अनि ‘दुर्गा आमा मेरो सम्मुख हुनुहुन्छ’ भन्ने विश्वास राख्दै यो बहुप्रचलित मन्त्र उच्चारण गर्ने, अनुकूलताअनुसार गर्दै रहने— ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ।
माला हुनेले दाना गनेर पनि यो मन्त्र उच्चारण गर्न सक्नुहुनेछ । मानसिक रूपमा पनि गर्न सक्नुहुनेछ । हरेक दिन पूजा समाप्त गर्दा ‘मैले जानेको छैन’ भन्ने भाव राख्ने । नवरात्रभरि यो अभ्यास गरेर देवी विर्सजनका बेला तीन कन्याको पूजन गर्ने र आशीर्वाद लिने ।
दुर्गा माताको माथिको मन्त्रमा तीनै प्रमुख देवीहरूको बीजमन्त्र समाहित छ, अनि हाम्रो शरीरका तीनै प्रमुख चक्रलाई सक्रिय बनाउन र यिनको शुद्धीकरण गर्न सहयोगी छ ।
दुर्गा संसारभरि सूक्ष्म रूपले व्याप्त छिन् । हाम्रो शरीरका यी केन्द्रमा पनि दुर्गाको ऊर्जा छ तर हाम्रा अनेक विचार र गलत संस्कारले यिनको शक्तिलाई छोपेको छ । जसरी बादल हटेपछि सूर्यको प्रकाश देखिन्छ, ठीक त्यसैगरी सही साधनाले ऊर्जाकेन्द्रमा रहेका विकार हटाई फरक अनुभूति दिँदै जानेछ । मन्त्रमा ध्यान लागेमा, मन्त्रपछि शरीर हल्का तातो भएमा, ऊर्जा केन्द्रहरूमा केही नरम स्पन्दनको अनुभूति भएमा साधना ठीक तरिकाले अगाडि बढेको छ भन्ने मानौं ।
साधनाका अतिरिक्त सदाचारमा पनि ध्यान दिनुपर्छ । सत्यको पालना गर्नु ऊर्जा संकलनको अर्को तरिका हो । गल्ती गरेपछि, झूटको सहारा लिएपछि डर उत्पन्न हुन्छ अनि शक्तिको क्षय हुन्छ । सत्यवादी हुँदा डराउनुपर्दैन । मन्त्रजप गरी फूलप्रसाद र धूपबत्ती चढाएर मात्र पनि हाम्रो प्रगति हुन सक्दैन । सत्यको पालना गर्दा सरस्वती, लक्ष्य लिएर सत्कर्म गर्दा लक्ष्मी र काल (समय) को सदुपयोग गर्दा काली खुसी हुन्छिन् । काली, लक्ष्मी र सरस्वतीमध्ये एकको कमी हुँदा जीवन अपांग हुन्छ । तीनै पक्षको आशीर्वाद मिल्न सके जीवन सन्तुलित हुन्छ ।
आवश्यकताअनुसार प्रकृति वा दुर्गाले धेरै रूप लिएकी हुन्छिन् । नवरात्रमा उनका नौ रूपको पूजा–आराधना हुन्छ । यीमध्ये पनि महाकाली, महालक्ष्मी र महासरस्वती उनका प्रमुख रूप हुन् । महाकाली, महालक्ष्मी र महासरस्वतीको एकीकृत रूप नै महादुर्गा हुन् । तसर्थ माता दुर्गाको साधना गर्नेले काली, लक्ष्मी र सरस्वतीको एकसाथ साधना गरेको हुन्छ । अर्को अर्थमा भन्दा, दुर्गाको साधना गर्दा सरस्वतीबाट प्राप्त गरिने ज्ञान–सीप, लक्ष्मीबाट प्राप्त गरिने वैभव र कालीबाट प्राप्त गरिने ऊर्जाशक्तिका लागि एकसाथ साधना गरिरहिएको हुन्छ । ब्रह्म निराकार छन् तर दुर्गा साकार रूपमा आउँछिन् ।
नवरात्र दुर्गाको परम आशीर्वाद र स्नेह पाउने अमूल्य अवसर हो । यस अवसरमा साधकले कस्तो भावबाट कति तीव्र साधना गर्छ, त्यसैअनुसारको कृपा पाउँछ । जीवनभर साधना गर्नेले निश्चिन्त र मस्त जीवन बिताउन सक्छ । यसरी साधना गरेर शरीरका मुख्य तीन ऊर्जा केन्द्रको शुद्धीकरण गर्न, तिनलाई सक्रिय गराउन सकेमा नवरात्रको वास्तविक महत्त्व थाहा हुनेछ ।
आधुनिक विज्ञान र अध्यात्म विज्ञान दुवैले सत्यको खोज गरेका हुन्छन् । आधुनिक विज्ञानले बाहिरी वस्तुको प्रयोग गर्छ भने अध्यात्मले आन्तरिक ऊर्जाको । शिक्षितहरूले प्रयोगबाट जे सिद्ध हुन्छ, त्यसैलाई स्वीकार गर्छन् र यो सही तरिका हो ।
दुर्गाले जातजातिबीच भेदभाव गर्दिनन् । उनका पनि को पो छन् र ? हामी नै त हौं सन्तान । टीका लगाउनु–नलगाउनु निजी विषय हो । हरेक धर्म वा सम्प्रदायमा साधनाका विधि हुन्छन् । इस्लाम र बौद्ध धर्ममा आस्था राख्नेहरूले पनि फरक पद्धतिबाट शक्तिको साधना गर्ने गर्छन् । सनातनहरूका यी विधि प्रयोग गर्न संकोच लागेमा आफ्नो
समुदायको विधि प्रयोग गरेर साधना गरे पनि ऊर्जा जगाउन सकिन्छ ।
माता दुर्गा भन्नु वा प्रकृति भन्नु एउटै हो । उनले पौरखी र योग्य सन्तानलाई कर्मखातामा उपलब्ध भएअनुसार पुरस्कार र प्रेरणा दिन्छिन् भने अविवेकी सन्तानलाई विभिन्न किसिमका पीडा, असफलता, अभाव र रोग । जीवनमा रोग, अभाव र धेरै समस्या आएमा आफ्नो जन्मजन्मातरका कर्मसंस्कारले गर्दा प्रकृति रुष्ट भएकी छन् र यी समस्या झेल्दै आमाको शरणमा परौं वा आफ्ना
सद्गुरु, इष्टदेवता वा कुलदेवताले देखाएको बाटोमार्फत समाधान खोज्ने प्रयास गरौं ।

Page 10
समाचार

अमेरिकामा इयान आँधीको कहर

- कान्तिपुर संवाददाता


फ्लोरिडा (एजेन्सी)– समुद्री आँधी इयानले अमेरिकाको फ्लोरिडा र साउथ क्यारोलिनामा व्यापक क्षति निम्त्याएको छ । शुक्रबार साँझसम्म फ्लोरिडामा मात्रै २१ जनाको मृत्यु भइसकेको छ । उच्च गतिको हावा, वर्षा र बाढीले समुद्री तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन् । घर, भवनलगायतका संरचना भत्किएका छन् भने जलमग्न सडक तथा बस्तीमा कार, बस, पानीजहाज तैरिरहेका देख्न सकिन्छ ।
फ्लोरिडामा मात्रै १६ लाख घर विद्युत्विहीन भएका छन् । साउथ क्यारोलिनामा यो संख्या २ लाखभन्दा माथि छ । समुद्रबाट १३० किलोमिटर टाढाको दक्षिणी सहर चार्ल्सटनमा पहिरो गएको छ । रुखहरू भाँचिएर कतिपय सडकमा आउजाउ ठप्प छ ।
हाल आँधीको गति केही कम भए पनि खतरामुक्त अवस्था सिर्जना भइनसकेको भन्दै नेसनल हुरिकेन सेन्टरले (एनएचसी) सबैलाई सचेत गराएको छ । मध्य फ्लोरिडाका नदीहरूमा आगामी सातासम्ममा जलस्तरले रेकर्ड कायम गर्ने उसको दाबी छ । नर्थ क्यारोलिना र भर्जिनियाका केही स्थानमा शनिबार रातिदेखि उच्च गतिसहितको वर्षा र बाढीको खतरा रहेको पनि एनएचसीको प्रक्षेपण छ । ‘हाल प्रतिघण्टा ८५ किमिको गतिमा आँधी उत्तरतर्फ अगाडि बढिरहेको छ,’ एनएचसीले भनेको छ, ‘गति र क्षतिका आधारमा यो चौथो तहको आँधी हो ।’ यसअघि सन् २००५ मा लुसियाना राज्यमा पाँचौं तहको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएको र सवा खर्ब डलरको क्षति भएको थियो ।
राष्ट्रपति जो बाइडेनले इयान अमेरिकी इतिहासमै सबैभन्दा विध्वंसक प्राकृतिक विपत्ति बन्ने देखिएको बताएका छन् । शुक्रबार
ह्वाइटहाउसमा बोल्दै उनले क्षतिको विवरण संकलन भइरहेको
जनाए । अमेरिकी अध्ययन संस्था कोरलजिकअनुसार हालसम्म ४७ अर्ब बराबरको धनमालको क्षति भइसकेको छ ।
साताको सुरुवातमा इयानले क्युबामा विध्वंस मच्चाएको थियो । १ करोड १० लाखको बसोबास रहेको पूरा राज्यमै विद्युत् सेवा ठप्प हुन पुगेको थियो भने हजारौं घर र संरचनाहरू भत्किएका थिए ।

समाचार

राजदूतद्वय बेरी र यान्छी स्वदेश फर्कंदै

- जगदीश्वर पाण्डे

(काठमाडौं) - नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी आफ्नो झन्डै चारवर्षे कार्यकाल पूरा गरेर आइतबार स्वदेश फर्कंदै छन् । नामिबियाका लागि अमेरिकी राजदूतमा सिफारिस भएपछि उनले नेपाल छोड्न लागेका हुन् । अर्कोतर्फ, उत्तरी छिमेकी मुलुक चीनकी राजदूत होउ यान्छी पनि अर्को महिना स्वदेश फर्कने भएकी छन् । यान्छी अब दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स् (आसियान) क्षेत्रको राजदूतको जिम्मेवारीमा रहनेछिन् ।
उच्च कूटनीतिक स्रोतका अनुसार आफू नेपालबाट फर्कने भएपछि राजदूत यान्छी अन्तिम उच्चस्तरीय बिदाइ भेटवार्ताको तयारीमा छिन् । जसका लागि काठमाडौंस्थित चिनियाँ राजदूतावासले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको कार्यालय, परराष्ट्र मन्त्रालय तथा प्रमुख दल नेताहरूको सचिवालयमा पत्राचार गरिसकेको छ । ‘चिनियाँ राजदूतले बिदाइ भेटवार्ताका लागि आग्रह गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले कान्तिपुरसँग भने ।
अमेरिकाबाट नेपालमा नयाँ राजदूतका रूपमा डिन थम्प्सन आउने निर्णय भइसके पनि चीनबाट आउने नयाँ राजदूतको घोषणा बेइजिङले गरिसकेको छैन । थम्प्सनले शुक्रबार वासिङ्टन डीसीमा पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनी केही दिनभित्रै नेपाल आउने अमेरिकी राजदूतावास स्रोतले बतायो ।
बेरीको चारवर्षे कार्यकालको सफलता नेपालको
संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन हुनु हो । गत फागुन १५ मा १२ बुँदे व्याख्यात्मक घोषणासहित उक्त सम्झौता संसद्बाट अनुमोदन भएको थियो । तर, बेरीकै कार्यकालमा गत असार ६ मा नेपाल सरकारले अमेरिकी सैन्य सहकार्य परियोजना स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अघि नबढाउने घोषणा गरिदियो । एमसीसीलाई लिएर चिनियाँ पक्षले नेपाल र बेइजिङबाट पटक–पटक टिप्पणी नै गरेको थियो ।
यान्छी सन् २०१८ को डिसेम्बरमा नेपाल आएकी थिइन् । उनको करिब चारवर्षे नेपाल बसाइँका क्रममा चीनबाट २३ वर्षपछि पहिलो पटक राष्ट्रपतिको भ्रमण भयो । सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका थिए । यसबाहेक गएको महिना मात्रै चिनियाँ राष्ट्रिय कंग्रेसका अध्यक्ष ली चान्सुले पनि नेपाल भ्रमण गरे । उक्त भ्रमणका क्रममा नेपालको प्रतिनिधिसभा र चिनियाँ जनकंग्रेसबीचमा अन्तर संसदीय सहकार्य गर्ने सहमति भएको थियो ।
यान्छीको कार्यकालमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अघि बढ्न सकेन । अघिल्लो केपी शर्मा ओली सरकार र अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले बीआरआईलाई अघि बढाउन चाहेको देखिएन । चीनको चाहना नेपालले ऋण लिएर बीआरआईका परियोजना अघि बढाओस् भन्ने छ, तर नेपालले चीनबाट सहुलियत ऋण वा अनुदान मात्र लिन खोजिरहेको छ । जसले गर्दा नेपालमा बीआरआई परियोजना अघि बढ्न नसकेको हो ।
ठूला कम्युनिस्ट शक्तिहरू एक भई बनेको नेकपा फुट्न नदिन पनि यान्छीले प्रमुख नेताहरूको घरदैलो गरिरहिन् तर अदालतले नेकपा खारेज गर्दै पुनः एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । यान्छीले नेकपालाई फुटबाट जोगाउन तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्य नेताहरू माधवकुमार नेपाल, झलनाल खनाललागयतलाई पटक–पटक भेटेकी थिइन् । यान्छीकै कार्यकालमा कोरोना महामारीका कारण चीनले नेपालका उत्तरी सीमानाकाहरू लगातार बन्द गरेपछि उनले चौतर्फी आलोचनासमेत खेप्नुपर्‍यो ।
दुवै राजदूतको कार्यकालमा दुवै मुलुकबाट नेपालमा प्रसस्त उच्च तहका भ्रमणहरू भए । अमेरिकाले सन् २०१९ मा इन्डो प्यासिफिक रणनीति दस्ताबेज बाहिर ल्याएपछि चीनले नेपालमा पहिलेको भन्दा थप चासो दिन थाल्यो । त्यसयता चीनका उच्च तहका धेरै नेता र प्रतिनिधिमण्डल नेपाल आइसकेका छन् । एमसीसी पारित हुनुअघि र त्यसयता पनि अमेरिकाका विभिन्न तहका नेताहरू नेपाल आउने क्रम निरन्तर जस्तै छ । नेपालमा कोरोना महामारी नियन्त्रणमा आवश्यक खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन दुवै राजदूतले महत्त्वपूर्ण भूमिका खेलेका थिए । यहीबीचमा नेपाल केन्द्रमा रहनेगरी अमेरिका र चीनबीचमा भूराजनीतिक जटिलतासमेत बढेको देखिन्छ ।

समाचार

भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाहिर

- कान्तिपुर संवाददाता

(नयाँदिल्ली) - भारतीय कंग्रेस पार्टीमा २४ वर्षपछि गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन हुँदै छ । आगामी अक्टोबर १७ का लागि तोकिएको पार्टी अध्यक्षको निर्वाचनमा सोनिया, राहुल र प्रियंका गान्धीमध्ये कसैले पनि उम्मेदवारी नदिएपछि २४ वर्षपछि पार्टीको नेतृत्व गान्धी परिवारभन्दा बाहिर जान लागेको हो । शुक्रबार उम्मेदवारी दर्ता गराउने अन्तिम दिन थियो । अध्यक्ष पदका लागि मिडियामा छाइरहने बौद्धिक छविका शशी थरुर, केएन त्रिपाठी र मल्लिकार्जुन खड्गेले उम्मेदवारी दर्ता गराएका छन् ।
सन् १९९८ देखि आमा–छोरासमेत रहेका सोनिया र राहुलले पार्टीको नेतृत्व सम्हाल्दै आएका छन् । २४ वर्षमा सन् २०१७ देखि २०१९ सम्म मात्र राहुल नेतृत्वमा थिए । राहुलको नेतृत्वमा पार्टीले सन् २०१९ को आमचुनावमा हार व्यहोरेपछि उनले पदबाट राजीनामा दिएका थिए । राहुलभन्दा अघि र अहिले पनि पार्टी नेतृत्वमा सोनिया जिम्मेवारीमा छिन् । सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले कंग्रेस पार्टी परिवारवादमा चलेको भन्दै उक्त मुद्दालाई निरन्तर उठाउँदै आएको छ ।
राहुलमाथि फेरि अध्यक्ष बन्न कार्यकर्ताको तीव्र दबाब थियो । तर, उनले गैरगान्धी परिवारबाट नेतृत्व लिनुपर्ने अडान लिइरहे । सोनिया, राहुल र प्रियंका अध्यक्षको प्रतिस्पर्धामा नभएपछि धेरैले अध्यक्ष बन्ने महत्त्वाकांक्षा देखाएका थिए । राजस्थानका मुख्यमन्त्री अशोक गलहोत, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री दिग्विजय सिंहलगायतका नेताहरूले उम्मेदवार हुने बताएका थिए । तर, अन्तिम समयसम्म ३ जनाको मात्रै उम्मेदवारी परेको हो ।
आफूहरू चुनावमा निरपेक्ष रहेको बताइरहे पनि गान्धी परिवारनिकट नेताहरू नै कर्नाटकका मल्लिकार्जुन खड्गेको प्रस्तावक बसेकाले सोनिया, राहुल र प्रियंकाको समर्थन पनि उनलाई रहेको अनुमान गरिएको छ । उनी दलित समुदायका हुन् । उनको पक्षमा २४ जना वरिष्ठ नेताहरू प्रस्तावक बसेका छन् । थरुरका ९ जना प्रस्तावक छन् । उम्मेदवारी मनोनयनका क्रममा मल्लिकार्जुनले प्राप्त गरेको वरिष्ठ नेताहरूको समर्थनले चुनावी महोल उनको पक्षमा रहेको देखिएको मिडिया विश्लेषण छ ।
खड्केले संसद्को विपक्षी दलको नेताबाट समेत राजीनामा दिएका छन् । पार्टी अन्तरिम अध्यक्ष सोनिया गान्धीसमक्ष उनले राजीनामा बुझाएका हुन् । कंग्रेसले अख्तियार गरेको ‘एक व्यक्ति, एक पद’ रणनीतिअनुरुप खड्केले अध्यक्षमा उम्मेदवारी दिएसँगै दलको नेताबाट राजीनामा दिएको बताइएको छ ।

समाचार

भारतमा ५–जी सेवा सुरु

- कान्तिपुर संवाददाता


नयाँदिल्ली (एजेन्सी)– भारतमा ५–जी मोबाइल सेवा सुरु भएको छ । शनिबार नयाँदिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस, २०२२’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् । हाललाई भारतका ८ सहरमा सेवा उपलब्ध गराइएको छ ।
५–जी मोबाइल सेवा सुरु भएसँगै अब मुलुकभर उच्च गतिको इन्टरनेट सुविधा दिन बाटो खुलेको छ । भारत सरकारले आगामी वर्षसम्म ५–जी सेवालाई मुलुकभर नै विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । दूरसञ्चार कम्पनी एयरटेलले शनिबारदेखि नै दिल्ली, मुम्बई, बेंगलुरु, वाराणसीलगायत ८ सहरमा ५–जी सेवा दिन सुरु गरेको छ । ‘सन् २०२४ मार्चसम्ममा हामी मुलुकरभर सेवा विस्तार गरिसक्नेछौं,’ एयरटेल अध्यक्ष सुनील मित्तलले भने ।
५–जी सेवा सुरु भएसँगै हाल उपलब्ध इन्टरनेटको गतिमा दस गुणासम्मले वृद्धि हुने बताइएको छ । यो सेवा अटोमेसन, ई–मेडिसिन, शिक्षा, ग्रामीण विकास, कृषिलगायत क्षेत्रलाई माथि उकास्न निकै फलदायक सावित हुने दाबी गएिएको छ । मुलुकभर इन्टरनेटमा आधारित सुशासन कायम गराउन पनि सहज हुनेछ । इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स उद्योगलाई फाइदा पुग्नुका साथै स्वास्थ्य सेवा, भर्चुअल रियालिटी, क्लाउड गेमिङलगायतका लागि पनि बाटो फराकिलो बन्नेछ । ५–जी सेवाका उपभोक्ताले ४–जीको भन्दा १० देखि २० गुणासम्म बढी डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन् । हाल सञ्चालनमा रहेका ४–जी र ३–जी सेवा भने नरोकिने भारत सरकारले स्पष्ट पारेको छ ।

Page 11
अर्थ वाणिज्य

बजार हिँडेको साग !

- कान्तिपुर संवाददाता

भक्तपुरको मनहरा फाँटमा लगाइएको साग बजार लैजाने तयारी गर्दै किसान । हरियो तरकारीका लागि भक्तपुरको
यो क्षेत्र चर्चित छ । तस्बिर ः दीपक केसी/कान्तिपुर

अर्थ वाणिज्य

धानको बालामा खपटे किराको बास

- रमेशकुमार पौडेल

(चितवन) - कालो सानो खपटे किरा (बिटल) पसाउँदै गरेको धानको बाला ढाकेर बस्न थालेपछि चितवनका किसान चिन्तित छन् । भरतपुर महानगरपालिका–१४ बरौंजीका किसान घननाथ सापकोटाको धानखेतमा यस्तो किरा छपक्कै देखिएको साताभन्दा बढी भयो । ‘पसाउँदै गरेको धान यो किराले सखापै बनायो झैं छ । यस्तै हो भने खेती स्याहार्न पाइएला जस्तो छैन,’ सापकोटाले भने ।
बरौंजी वरपरको ५० बिघा जति धान खेतमा यस्तो किरा छपक्कै देखिएको उनले बताए । यो किराले धान मात्रै नभएर रुख
बुट्यानमा पनि असर गरेको अर्का किसान नरनाथ पौडेलले सुनाए । खेतको आलीमा बस्ने यो किरा बिस्तारै धानको बोटमा बस्न जाने र बाला खाँदै अगाडि बढ्ने गरेको सापकोटाले देखेका छन् । कृषि ज्ञान केन्द्रमा उनले यस्तो समस्याबारे जानकारी गराइसकेका छन् ।
किसानले समस्या सुनाएपछि भरतपुरका कृषि केन्द्रका कृषि प्रसार अधिकृत मीनबहादुर पुन खेती हेर्न पुगेका थिए । ‘पसाउँदै गरेको धानको बालामा गएर यो किरा बसेको छ । यस्तो समस्या यसअघि खासै देखिएको थिएन । किरा नौलो त होइन । तर यसरी छपक्कै बस्ने गरेको थाहा थिएन,’ पुनले भने । नयाँ समस्या भएका कारण यो विषय विज्ञहरूलाई जानकारी गराएको उनले बताए । ‘मैले सम्पर्क गरेका किट विज्ञहरूले यो किराले बाली नोक्सान गरेको खासै सुनिएको छैन भनेका छन् । तर किसान आत्तिएका छन् । हामी पनि के गर्ने, नगर्ने निचोडमा पुगेका छैनौं,’ पुनले भने । आफूहरूले विज्ञकै राय पर्खेर्रे बसेको पुनले बताए । किराले गर्ने असरबारे बुझ्नुपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका किटविज्ञ घनश्याम भण्डारीको भनाइ छ ।
यो किरा धानको ब्याडमा देखिन्थ्यो । यसको लार्भाले ब्याडको धानको बीउको जरा खाने गर्थ्यो । ‘तर यति धेरै मात्रामा धानको बालामा बसेको पहिलो पटक देखिएको छ । धानको बालामा बस्दैमा नोक्सान हुने होइन । तर पक्का असर गर्ला–नगर्ला, यसबारे अध्ययन गर्दै छु । केही दिनमा निष्कर्षमा पुगिएला,’ भण्डारीले भने । बरौंजी आडको शिवनगरमा पनि यस्तो समस्या देखिएको छ । खेतमा गएर हेर्दा धानको बाला काटे झैं पनि देखिएका कारण असर पर्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पुनले सुनाए । असर गर्ने अवस्था आए सिफारिस गरिएका विषादी प्राविधिकको रेखदेख र सुझावमा राख्न लगाउने उनले बताए । तर ठूलो जमिन ढाकेर किरा बसेका कारण विषादी छर्कन सहज नभएको र छर्नैपर्ने अवस्था आए सरकारले विशेष सहयोग गर्नुपर्ने किसानहरूको माग छ ।

अर्थ वाणिज्य

डिजिटल दक्षिणा

- कान्तिपुर संवाददाता

(काठमाडौं) - यसपालिको सोह्र श्राद्धमा पण्डित नीरु बरालले १४ घरमा श्राद्ध गरे । तीमध्ये पाँच वटा घरमा मोबाइलबाट गुरुदक्षिणा प्राप्त गरे । ‘पोहोर पनि एक जना यजमानले मोबाइलबाट मेरो बैंक खातामा दक्षिणा जम्मा गरिदिएका थिए,’ कपन बस्ने पण्डित बरालले भने, ‘यसपालि ई–सेवा, खल्ती, कनेक्ट आईपीएस छ कि छैन भनेर धेरै यजमानले मलाई सोध्नुभयो ।’
पूजापाठ गराउन थालेको एक दशकमा कोरोना महामारीपछि मात्रै मोबाइलबाट दक्षिणा पाउन थालेको उनले बताए । पहिला–पहिला खाममा हालेर दक्षिणा पाइने गरेकामा अचेल बैंक खातामा सीधै जम्मा हुँदा सजिलो हुने बरालको भनाइ छ । ‘आजभोलि हरेक कर्मकाण्डमा गौदान र भेटीबाहेक गुरुलाई दिने द्रव्य मोबाइलबाट पठाउने चलन आएको छ,’ उनले भने, ‘यो राम्रै हो, पैसा बचत गर्न सजिलो हुन्छ ।’ पोहोरको दसैंमा बुढानीलकण्ठका मोहनकुमार दाहालले आफन्तजनलाई खाममा पैसा हालेर दक्षिणा दिएनन् । सबैलाई मोबाइलबाट ट्रान्सफर गरिदिए । यसपालि पनि उनले पाँच र दस रुपैयाँका बाहेक नयाँ नोट लिएका छैनन् । आफूले दक्षिणा दिनुपर्ने सबैलाई मोबाइलमै पठाइदिने बताए ।
‘सबैको मोबाइलमा कुनै न कुनै डिजिटल वालेट वा बैंकका एप भइहाल्छन्,’ उनले भने, ‘त्यसमै पठाइदिन सजिलो हुन्छ । मेरी बूढी आमाले चाहिँ मोबाइल बोक्नुहुन्न । उहाँको बैंक खातामा दक्षिणा जम्मा गरिदिन्छु ।’ पूजा–आजा र भगवान्लाई भेटी चढाउन सिक्का पैसा र पाँच/दसका नयाँ नोट लिएको दाहालले बताए ।
मातातीर्थकी सपना बस्नेतले यसपालिको दसैंमा किनमेल गर्दा मोबाइलबाट पैसा तिरिरहेको जनाइन् । भाटभटेनीमा लुगा किन्दा फोनपेको क्यूआर कोड स्क्यान गरेको उनको भनाइ छ । ‘१२/१३ हजारका लुगाफाटो किन्दा एउटा झोला सित्तैमा पाइयो,’ उनले भनिन्, ‘फोनपे गर्दा त्यति सुविधा भयो ।’ असन बजारमा प्रेसर कुकर किन्दा खल्ती एपबाट पैसा तिरेको उनले जनाइन् । जता पनि मोबाइलबाटै पैसा तिर्न सकिने सुविधाले सहज भएको उनको भनाइ छ ।
दसैंलाई नगदरहित रूपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रयत्न गरिरहँदा सर्वसाधारण पनि त्यसमा अभ्यस्त हुन थालेका छन् । कोभिड महामारीयता दसैंको कारोबार डिजिटल माध्यमबाट हुने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकमा नयाँ नोट लिनेको भीड बर्सेनि पातलिँदै गएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।
‘विगतका वर्षको भन्दा यसपालि नयाँ नोट लिनेको संख्या र भीड कम भएको छ,’ उनले भने, ‘समग्र कारोबार डिजिटल माध्यमबाट हुन थालेकाले नयाँ नोटप्रतिको आकर्षण थोरै कम भएको हो ।’ हाल बजारमा चलनचल्तीमा रहेको मुद्रा २५ अर्बले बढेको उनको भनाइ छ । भदौ २६ बाट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा नयाँ नोट दिन सुरु गरेको थियो । त्यस दिनदेखि असोज १५ गतेसम्म सानो र ठूलो दरका गरी ५६ अर्बका रुपैयाँ वितरण गरिएका छन् । ‘विगतका वर्षभन्दा यो कम हो,’ प्रवक्ता भट्टले भने, ‘यसको अर्थ, नयाँ नोट लिनुभन्दा डिजिटल कारोबारमा मानिसहरू लागेका हुन् भन्ने बुझ्न सकिएला ।’ अघिल्ला वर्षझैं यसपालि पनि बैंक, वित्तीय संस्था र डिजिटल वालेट कम्पनीहरूले डिजिटल दक्षिणा र डिजिटल दसैंका अनेक योजना सार्वजनिक गरेका छन् । दसैंमा पैसाको कारोबारलाई सुरक्षित बनाउन डिजिटल दक्षिणाको योजना ल्याउने गरेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘कोरोना संक्रमण उच्च रहेका बेला नोटबाट पनि संक्रमण सर्ने जोखिम थियो,’ उनले भने, ‘त्यसबाट बच्न डिजिटल दक्षिणा उपयोगी थियो । अहिले पनि दसैंमा डिजिटल कारोबार बढिरहेकै छ । र, अझै सहज बन्दै गएको छ ।’
अघिल्ला वर्षझैं नबिल बैंकले यसपालि पनि डिजिटल दक्षिणालाई प्रवर्द्धन गरिरहेको छ । अघिल्लो वर्ष माछापुच्छ्रे बैंकले माछापुच्छ्रे मोबाइल मनीमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक प्रदान गरेको थियो । बैंक अफ काठमान्डूले डिजिटल दक्षिण योजनामा नगद उपहार दिने घोषणा गरेको थियो । त्यसअनुसार ग्राहकले तीन पटक तीन जनालाई मोबाइल बैंकिङ एप प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार रुपैयाँ वा सोभन्दा बढी भएमा ३ सय रुपैयाँ नगद उपहार दिने बताएको थियो ।
यसपालि बैंक वित्तीय संस्था र वालेट सेवा प्रदायकहरूले डिजिटल दक्षिणासँगै डिजिटल कारोबारसम्बन्धी योजनालाई धेरै प्रचार गरिरहेका छन् । डिजिटल कारोबार गर्दा क्यासब्याक, नगद र अन्य उपहार दिने घोषणा गरेका छन् । ई–सेवाले दसैंको उपलक्ष्यमा ‘दसैंको उमङ्ग, डिजिटल सपिङसँग’ योजना सार्वजनिक गरेको छ । यस स्किममा भाग लिएर विभिन्न उपहार पाउन सकिने ई–सेवाले जनाएको छ ।
‘ई–सेवा दसैं स्पेसलमा गई रु. १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाई टिकट प्राप्त गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘रु. १ मै दुई जना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जी मोबाइल प्राप्त गर्न सक्नेछन् ।’ खल्ती वालेटले पनि ‘खल्तीफुल दसैं’ योजनाअन्तर्गत दसैं सपिङमा १० प्रतिशत क्यासब्याकलगायत अफर ल्याएको छ । ‘चाडपर्वका बेला खुद्रा कारोबार बढी हुन्छ,’ खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘आममानिसको खर्च गर्ने टेन्डेन्सी बढ्छ । यो बेला विभिन्न अफर दिँदा ग्राहकले १०/२० प्रतिशत जोगाउन सक्छन् । विशेषतः डिजिटल कारोबारप्रति अभ्यस्त बनाउन हामीले योजनाहरू ल्याएका हौं ।’
दसैंका बेला कागजी नोट जतन गर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । डिजिटल कारोबारले त्यसमा मद्दत पुग्ने प्रवक्ता भट्टले बताए । नोटलाई जतनसाथ आवश्यक कामका लागि मात्रै प्रयोग गर्न, नोटमा रङ नलगाउन, केरमेट नगर्न, पानीमा नभिजाउन, टाँका वा स्टिच नलगाउन, नच्याउन राष्ट्र बैंकले आग्रह गरेको छ । यसको विकल्पमा मिलेजति स्थितिमा डिजिटल कारोबार गर्न भनेको छ । ‘दसैंका बेला टीका लगाउँदै हिँड्नेलाई गोजी वा पर्समा पैसा बोक्न झ्याउ हुन सक्छ,’ भट्टले भने, ‘कता–कता दौडिरहँदा नोट हराउने, बिग्रिने हुन्छ । टीका लाउने, लाइदिने दुवै जनाको मोबाइल त्यहीँ हुन्छ, फन्ड ट्रान्सफर गरे भयो । मोबाइलमै दक्षिणा आयो भने सजिलो हुन्छ । अहिले अप्ठ्यारो लागे पनि डिजिटल दक्षिणा बिस्तारै सामान्य कुरा बन्छ ।’

अर्थ वाणिज्य

लामखुट्टेबाट बच्न प्रयोग गरिने सामग्री अभाव

- सीमा तामाङ

(काठमाडौं) - नयाँ बानेश्वरकी सीता थापाले एक साताअघि बजारमा ओडोमोस क्रिम खोज्दा पाइनन् । ‘डेंगीको संक्रमण बढ्दै गएपछि विद्यालयले नै शरीरका खाली भागमा ओडोमोस क्रिम लगाएर मात्र बालबालिका पठाउन भन्यो,’ उनले भनिन्, ‘स्कुलले नै भनेपछि क्रिम खोज्दा बजारमा पाइएन, त्यसपछि छोरालाई यत्तिकै पठाएँ ।’ अहिले उनका श्रीमान्लाई डेंगी भएको छ । यसबाट बच्चालाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको उनले बताइन् । ‘एउटै कोठामा बसेपछि उहाँलाई टोकेको लामखुट्टेले हामीलाई पनि टोक्न सक्छ, आफ्नो भन्दा बच्चाको धेरै डर छ,’ उनले भनिन्, ‘अहिले लामखुट्टे मार्ने धूप र लिक्विड बालिरहेका छौं, क्रिम अझै पाइएन ।’
डेंगीको महामारी फैलिएपछि प्रायः सबै स्कुलले आफ्ना बालबालिकालाई ओडोमोस क्रिम लगाएर पठाउन आग्रह गरेका थिए । काठमाडौं बुद्धनगरस्थित रोजबड स्कुलमा अध्ययनरत साम्भवी श्रेष्ठका अभिभावकलाई पनि स्कुलले यस्तै म्यासेज पठायो । साम्भवीकी आमा ज्योतिले शंखमूलका सबैजसो फार्मेसी चहार्दा पनि ओडोमोस क्रिम पाइनन् । तर, किराना पसलमा भने डा. मोस क्रिम फेला पारिन् । ओडोमोसको जस्तै काम गर्ने भएकाले उनले उक्त क्रिम लिए पनि त्यसको गन्धका कारण छोरीले लाउनै नमानेको उनले बताइन् । ‘अझै पनि फार्मेसीमा ओडोमोस क्रिम पाइएको छैन, सिटामोल त नपाइने ठाउँमा क्रिम के पाइएला र ?’ उनले भनिन् ।
डेंगी संक्रमितको संख्या बढेसँगै बजारमा लामखुट्टेको टोकाइबाट बच्न प्रयोग गरिने सामग्रीको अभाव भएको छ । ओडोमोस क्रिम/स्प्रेको अभाव बढ्दो छ । अल आउट, गुड नाइट, मोरटेन जस्ता लिक्विड भने पाइरहेका छन् । जुनसुकै बेला प्रयोग गर्न सकिने, बोकेर हिँड्न मिल्ने यस्ता क्रिमहरूको अभाव भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार मंगलबारसम्म देशभर २७ हजार ५ सय ६९ जना डेंगी संक्रमित छन् । दसैंमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने हुँदा डेंगीको प्रकोप देशव्यापी हुने जोखिम रहेको विज्ञहरू बताउँछन् ।
डेंगी संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण हो । त्यसैले लामखुट्टेबाट बच्न विगतमा ‘ओडोमोस’ क्रिम र स्प्रे प्रयोग गरिन्थ्यो । तर यस वर्ष डेंगी संक्रमण फैलिनु अगावैदेखि ‘ओडोमोस’ क्रिम अभाव भएको फार्मेसी सञ्चालकहरूको भनाइ छ । यद्यपि ‘ओडोमोस’ क्रिम पाइहाले पनि थोक बजारले नै ‘एमआरपी’ मूल्यमा किन्नुपर्ने अवस्था आएको अर्चना सर्जिकल सप्लायर्सका सञ्चालक अमिर खतिवडाले बताए । ‘क्षेत्रपाटीका केही पसलमा ओडोमोस क्रिम नै पाइन्छ,’ उनले भने, ‘यद्यपि एमआरपीभन्दा बढी मूल्य तिर्नुपर्छ । त्यसैले मैले ल्याउनै छोडें । आफैंले एमआरपी मूल्य तिरेर ग्राहकलाई कुन मूल्यमा बेच्नु ?’
अहिले ओडोमोस क्रिमको विकल्पमा डा. मोस, मस्क रेप (मस्किटो रिप्लेमेन्ट), रेमोस क्रिम बजारमा पाइन्छन् । मस्किटो सेफ, नेपमिक्स नेचरल, मस्किटो रेपिलेन्ट स्प्रे पनि पाइन्छन् । पसलमा ‘ओडोमोस’ अभाव हुन थाले पनि केही ई–कमर्स वेबसाइटमा अझै पनि उपलब्ध छ । लामखुट्टेको टोकाइबाट बच्न शरीरका खाली भागमा यो क्रिम लगाइन्छ । डेंगीको संक्रमण बढेसँगै ओडोमोसलगायत विविध क्रिमको समेत अभाव हुन थालेको शंखमूलस्थित डायमन्ड फार्मेसीकी सञ्चालक रोजिना सुवालले गुनासो गरिन् । ‘पहिला प्रशस्त मात्रामा ओडोमोस पाइन्थ्यो । तर यस पटक पाइएको छैन,’ उनले भनिन्, ‘दिनकै १५ देखि २० जना ओडोमोस क्रिम/स्प्रे खोज्न आउँछन् तर सामान नभएपछि बेच्नै पाइएन ।’
बिस्तारै डा. मोस पनि अभाव हुन थालिसकेको अर्चना सप्लायर्सका सञ्चालक खतिवडाले बताए । ‘अहिले घरघरमा बिरामी छन्, बच्नकै लागि क्रिम लिन आउने धेरै छन् । तर डा. मोस पनि अभाव हुन थालिसक्यो,’ उनले भने, ‘दिनप्रतिदिन यस्ता क्रिमको माग बढ्दै गएको छ ।’ डेंगी एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा संक्रमण हुन्छ । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेंगीको संक्रमण हुन्छ । त्यसकारण मानिसहरू लामखुट्टेको टोकाइबाट बच्न क्रिमको प्रयोग गर्छन् । जसको अभाव हुन थालेको छ ।
झन्डै तीन महिनादेखि ओडोमोस क्रिम पाइन छाडेको कोटेश्वरस्थित कोटेश्वर मेडिकल हलका नानीराम बस्नेत बताउँछन् । ‘धेरै ग्राहकले ओडोमोस क्रिम नै खोज्छन् । तर त्यो क्रिम नै पाइँदैन,’ उनले भने, ‘ओडोमोसको विकल्पमा डा. मोस आए पनि धेरैले रुचाउँदैनन् । त्यही पनि मागभन्दा कम पाइरहेको छ ।’
बजारमा अभाव खट्किए पनि भन्सार विभागको तथ्यांकले गत वर्षको तुलनामा यस वर्ष मूल्य बढेको र परिमाण घटेर आयात भएको देखाउँछ । चालु आर्थिक वर्षको साउन–भदौमा ८ करोड ९५ लाख १ हजार रुपैयाँको लामखुट्टे र कक्रोचलगायतका घरायसी कीटनाशक उत्पादन भित्रिँदा गत वर्ष ८ करोड ७५ लाख ३३ हजार रुपैयाँको आयात भएको थियो । तर परिमाणको हिसाबले गत आर्थिक वर्षको साउन–भदौमा १ लाख ७९ हजार ४ सय १० किलो भित्र्याउँदा यस वर्ष १ लाख ४० हजार ८ सय ८५ किलो मात्रै आयात भएको विभागको तथ्यांक छ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी संक्रमण देखिएको थियो ।

Page 12
खेलकुद

केन्ज्योसोममा सुवासलाई घर

- विनोद पाण्डे

(ललितपुर) - बुद्ध धर्ममा केन्ज्योसोमको अर्थ हुन्छ बुद्धका तीन रूपका भगवान् । हिन्दु धर्ममा ब्रह्मा, विष्णु र महेश्वर । दुवै धर्मको सार एउटै हो भगवान् । रिङरोडबाट २२ किलोमिटर दक्षिण लागेपछि दुर्गममा छ ललितपुरको केन्ज्योसोम गाउँपालिका । पहिला यसलाई भारदेउ गाविस भनिन्थ्यो ।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेको भनाइ मान्ने हो भने केन्ज्योसोम गाउँपालिकामा साक्षात्कार भगवान् छन्, सुवास तामाङको रूपमा । सुवासका ‘गड फादर’ हुन घले । सुवासकै आडमा गल्फले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण नजिते अध्यक्ष पदबाटै राजीनामा दिने घोषणा घलेले प्रतियोगिता हुनुअघि गरेका थिए ।
सुवासले तीन वर्षअघि नेपालमा भएको १३ औं सागमा व्यक्तिगत र टिममा गरी दुई स्वर्ण पदक जितेर इतिहास रचिदिए । त्यही भएर सुवासलाई नेपाली गल्फकै भगवान् मान्छन् घले । यो गल्फ संघकै मात्र नभएर नेपाली खेलकुदकै ठूलो सफलता थियो । सुवास जुन परिवेशबाट गल्फ खेल्न आए त्यो नै आफैंमा साहसको कथा थियो । यही साहसिलो सफलताका लागि नेपाल गल्फ संघले सुवासलाई केन्ज्योसोममा एक तलाको पक्की घर निर्माण गरिदिएको छ । जसलाई शनिबारमात्र हस्तान्तरण गरेको छ ।
तीन महिनाअघि सुवासको घर बनाउने अभियानमा एउटा च्यारिटी इभेन्ट भएको थियो । गोकर्ण गल्फ क्लबले कुनै पैसा नलिई यो अभियानमा सहयोग गरेको थियो । च्यारिटीमा ५ हजारदेखि सुरु भएको थियो । सबैभन्दा बढी सुहृद घिमिरेले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । कुल १५ लाख उठेको थियो । गल्फ संघका कोषाध्यक्ष किसन अग्रवालका अनुसार घर निर्माणमा २४ लाख खर्च भएको छ । फर्निचर हाल्न थप दुई लाख लाग्ने अनुमान छ । अपुग बजेट संघले व्यवस्थापन गर्ने अग्रवाल बताउँछन् ।
सुवासले आमाबुवासँगै बस्न एउटा पक्की घर बनोस् र भाइलाई बोर्डिङ स्कुल पढाउने चाहना राखेका थिए । गल्फ संघका महासचिव सीबी भण्डारीको बाफलमा अवस्थित साइरस इंग्लिस स्कुलमा सुवासका १३ वर्षे भाइ अर्जुन तामाङ ५० प्रतिशत छात्रवृत्ति लिएर पढ्छन् । सुवासले गल्फमा पाइला टेकेदेखि उनको व्यववारमा आमूल परिवर्तन आएको छ ।
पुरानो घरभन्दा दुई कान्लामात्र माथि बनेको छ नयाँ घर । जस्तापाताले छाएको त्यो पुरानो घर धेरै पटक पानी छिर्दा ओसिलो बन्थ्यो । जाडोमा कहिल्यै न्यानो हुन सकेन त्यो घर । त्यतिमात्र होइन दर्जन खसीबाख्रा, ओछ्यान, भातभान्सा सबै एकै ठाउँमा छन् । यो माहोलमा जन्मिएर हुर्किंदा सुवासले सुख कहिल्यै देख्नै पाएन । सुवासका बुवा उत्तम ज्यालादारी गर्छन् भने आमा सानुमाया तामाङ जन्मँदै अपाङ्ग छिन् । एउटा खुट्टा खोच्याएर हिँड्छिन् ।
शनिबारको माहोलपछि अब सुवासको परिवार अब नयाँ घरमा सर्नेछ । पुराना घरमा दर्जन खसीबाख्रा रहेकामा अझै थप्ने योजना छ । आमा सानुमायालाई सुवासले के गर्छ केही थाहा छैन, घर कसरी बनेको पनि उनी ठम्याउन सक्दिनन् । उनकी बहिनी पनि मेरुदण्डका कारण जन्मिँदै अपाङ्ग थिइन् । त्यही मेरुदण्डको केही समयअघि अप्रेसन गर्दा उनको मृत्यु भएको थियो ।
सुवास १० वर्ष जतिका हुँदा एकपल्ट मामा घर पुगेका थिए । मामाका छोरा उनका भाइ विनोद तामाङ रोयल नेपाल गल्फ क्लबमा बल व्वाइ थिए । उनी आफ्ना भाइलाई खाना पुर्‍याउन एक पटक एयरपोर्ट छेउ पुगे । त्यही काम गर्ने श्याम तामाङले गल्फ कोर्समा काम गर्ने हो भनेर प्रस्ताव राखेपछि सुरु भयो सुवासको बल टिप्ने कार्य । उनले ५ वर्ष काम गर्दैगर्दा गल्फ खेल्न सिके । उनी रेन्जमा गएर बल हानिरहँदा अध्यक्ष घलेले देखेका थिए । घलेले सुवासभित्रको गल्फ प्रतिभा चिनिहाले । यहींबाट सुरु भयो सुवास र नेपाली गल्फको यू–टर्न ।
‘१३ औं सागमा स्वर्ण जित्नुअघि उनी एयरपोर्टतिर गल्फ खेल्छन् भन्ने हामी कसैलाई थाहा थिएन । त्यसैले यसको सबै श्रेय गल्फ संघलाई दिनुपर्छ । उनको परिवार निकै विपन्न स्थितिमा छ,’ केन्ज्योसोम गाउँपालिका वडा नं. ५ का अध्यक्ष विजयुकमार स्याङतान शनिबार सुवासलाई गल्फ संघले घर हस्तान्तरण गर्दा निकै उत्साही देखिए । सुवासको घर निर्माण योजनामा ठूलो सहयोगी बनेका उनले भने, ‘नाताले सुवास मेरो भान्जा हो, उसले गल्फ खेल्छ भन्ने हामीलाई थाहा थिएन । सागमा स्वर्ण जितेपछि पत्रिकामा फोटो देखेरमात्र थाहा पायौं । अहिले गाउँपालिकाका धेरैले सुवासलाई चिन्छ ।’
स्वर्ण जितेपछि केन्ज्योसोम गाउँपालिकाले पनि सुवासलाई सम्मान गर्दै १ लाख नगद प्रदान गरेको थियो । ‘भारदेउमा बस्दा गुम्सिएर बसेको अवस्थामा सुवासले यो ठाउँको पहिचान दिएका छन्,’ वडाध्यक्ष स्याङतनले भने, ‘बाउ विपन्न परिवारको, आमा अपाङ्गता भएका कारण सुवासले चाहेर पनि पढ्न सकेनन् । उनले ४–५ कक्षामात्र पढेका छन् । तर गल्फ खेलमार्फत उनले ठूलो परिवर्तन ल्याएर यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाएका छन् ।’
सुवास अर्को महिना एसियन एमेच्योर गल्फ च्याम्पियनसिप खेल्न जाँदै छन् । यो एमेच्योर गल्फमा एसियाको सबैभन्दा ठूलो प्रतियोगिता हो । गल्फ संघ एसियन एमेच्योर खेल्न जानुअघि नै सुवासलाई घर हस्तान्तरण गरेर उनको मनोबल उच्च पार्न लागेको थियो । जसका कारण मनसुनको प्रतिकूलताको समयमा दुई महिना अघिमात्र घर बनाउन सुरु गरेको थियो ।
‘धेरै खेलाडीलाई प्रयास गरे पनि सुवास निकै मिहिनेती र भाग्यमानी भएर निस्किए । सुवासले छोटो समयमा जुन नतिजा दिलाए त्यो नै महत्त्वपूर्ण हो । एसियाली खेलकुदमा पदक र ओलम्पिक सहभागितामात्र नभएर व्यवसायिक इभेन्ट पनि उनले खेल्न सक्ने सपना हामीले देखेका छौं । गल्फ संघ त्यही अनुसार अगाडि बढिरहेको छ,’ घलेले भने । सुवासले दोहोरो स्वर्ण पदक जितेपछि पाएको पैसा कसैले निकाल्न नपाउने गरेर बैंकमा फिक्स डिपोजिट गरिदिएका छौं । नगद सम्मानबाट २३ लाख जम्मा भएको छ । त्यसको ब्याजको पैसाले भाइको पढाइमा लाग्ने अन्य खर्च बेहोर्दै आएका छन् ।
गल्फ संघका युवा तथा खेल विकास निर्देशक दीपक आचार्य उनले क्रमिक रूपमा आफ्नो खेल सुधार गर्दै माथिल्लो स्तरमा ल्याएकै कारण सुवासले सागमा दुई स्वर्ण जित्न सकेको बताउँछन् । आचार्यले भने, ‘त्यसपछि हामीले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएर सुवासको खेल अझ तिखार्नतिर लाग्यौं ।’
उनले भारतको प्रतिष्ठित तरुण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् । त्यसका लागि वार्षिक झन्डै ४० लाख रुपैयाँ लाग्छ । गल्फ संघले सबै त्यसको बन्दोबस्त गरिदिएको छ । ‘अहिलेभन्दा उनको प्रदर्शन निकै माथिल्लो स्तरमा जाओस भनेर हामीले यो व्यवस्थापन गरेका हौं,’ आचार्यले भने, ‘भोलिका दिनमा उनले एउटा एसियाली खेलकुद र साग खेलकुदमा खेलिसकेपछि उसलाई व्यावसायिक खेलाडी बनाउने योजना छ । सुवासको पनि आफ्नै व्यावसायिक इभेन्टमा खेल्ने उद्देश्य छ ।’
गल्फमा एउटा नियम परिवर्तन आएको छ, एमेच्योरले केही हजार डलर पुरस्कार पाउने व्यवस्था गरेको छ । यस परिवर्तित नियमले सुवासलाई केही राहत प्रदान गरेको छ । एमेच्योर नम्बर एक गल्फर सुवासले २०१९ मा सूर्य नेपाल च्यालेन्ज तथा यस वर्ष सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गरी तीन वटा व्यावसायिक प्रतियोगिता जितिसकेका छन् । तर एमेच्योर खेलाडी भएका कारण सुवासले उपाधि जित्दा कुनै नगद पाउँदैनन् ।
सुवास व्यावसायिक खेलाडी बन्ने दौडमा छन् । गल्फ संघ उनलाई एक पटक एसियाली खेलकुद र ओलम्पिक खेलाएपछि मात्र उनलाई व्यवसायिक खेलाडीको रूपमा उतार्न चाहान्छ । उनी हाल ओलम्पिक छात्रवृत्ति लिएर खेलिरहेका खेलाडी हुन् । उनले त्यसवापत मासिक ९० हजार पाइरहेका छन् । त्यो सबै खेल्ने र गल्फका सामानमा खर्च गर्नुपर्छ ।
सुवास विश्व एमेच्योर वरीयतामा १ सय ३० औं स्थानमा छन् । गल्फ संघले यसै साता आयोजना गरेको नेपाल टुरिजम एमेच्योर च्याम्पियनसिप जितेका थिए । विश्व वरीयताको यो प्रतियोगिता जितेकाले सुवास यो साता वरीयतामा १ सयभन्दा मुनि आउने अपेक्षा आचार्यको छ । यसअघि उनी १ सय १३ स्थानसम्म पुगिसकेका थिए ।

खेलकुद

लुम्बिनीलाई राजधानी कप

- चित्रांग थापा

(धनगढी) - लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराएको हो ।
पेनाल्टी शुटआउटमा दुवैबाट ९–९ गोल भएको थियो । त्यसअघि निर्धारित समयसम्म दुवैले १–१ को बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा निर्धारित समयको खेल बराबरीमा पुगेपछि निर्णय पेनाल्टी शुटआउटमा गरिएको हो ।
लुम्बिनीले ५ लाख रुपैयाँसहित ट्रफी जितेको छ । उपविजेता कर्णालीले ३ लाख रुपैयाँ पायो । उत्कृष्ट खेलाडी लुम्बिनीका फागुराम चौधरी भए । उनले २० हजार पाए । उत्कृष्ट डिफेन्डर लुम्बिनीका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णालीका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णालीका चन्द्रप्रकाश शाही, उत्कृष्ट मिडफिल्डर कर्णालीका भूपेन्द्र शाही चुनिए । उनीहरू जनही १० हजार पुरस्कार पाए ।
अत्तरियाको पीएफए स्पोटर््स क्लबको आयोजनामा प्रतियोगिता भएको हो । असोज पहिलो साताको अविरल वर्षाले खेलका सुरुआती चरणमा बाधा उत्पन्न गरेको थियो ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


ब्याडमिन्टनमा १ रजत र ६ कांस्य
काठमाडौं (कास)– भारतको गुवाहाटीमा भएको ब्याडमिन्टन एसियाअन्तर्गत साउथ एसिया जुनियर रिजनल च्याम्पियनसिपमा नेपाली खेलाडीले एक रजत र ६ कांस्य पदक जितेको छ । नेपाली खेलाडी यू–१५ र यू–१७ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । यू–१७ गर्ल्स डबल्समा रोज पाण्डे र सानिया चन्दले रजत पदक जिते । यू–१५ गर्ल्स सिंगलमा रोजी राईले कांस्य, रिहाना शेरचनले कांस्य, यू–१५ ब्वाइज डबल्समा कबिर केसी र साहिल चन्दले कांस्य, यू–१५ मिक्स्ड डबल्समा कबिर केसी र रोजी राईले कांस्य पदक जितेका थिए । दुवैतर्फ मिक्स टिम इभेन्टमा पनि नेपालले कांस्य पदक जितेको छ । यू–१५ मा कविर केसी, साहिल चन्द, रोजी राई र रिहाना शेरचन तथा यू–१७ मा डेभिड थापामगर, सुरज गुप्ता, रोज पाण्डे र सानिया चन्दले प्रतिस्पर्धा गरेका थिए ।
सोसियल सिटी च्याम्पियन
रामेछाप (कास)– जिल्लाकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि सानीमदौ सोसियल सिटी मन्थलीले जितेको छ । शनिबार फाइनलमा सोसियल सिटीले रिभरसाइड क्लब गाईखुरालाई पेनाल्टी शुटआउटमा ६–५ ले पराजित गरेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन सकेन । सोसियल सिटीले ३ लाख ३ हजार रुपैयाँ पुरस्कार जितेको छ । रिभरसाइडले २ लाख २ हजार रुपैयाँ पायो । तेस्रो भएको आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लबले १ लाख १ हजार पुरस्कार पाएको थियो । विजेतालाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कृत गरे । प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।
क्यान्डिडेट मास्टरको तेस्रो जित
काठमाडौं (कास)– नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा भइरहेको एसियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो जित कायम राखेका छन् । डिफेन्डिङ च्याम्पियन कृष्णले तेस्रो चरणमा भारतका रन्जीत आरकेलाई हराए । त्यसअघि कृष्णले दोस्रो चरणमा जापानका ताकेनुउची ओत्सुसीलाई पराजित गरेका थिए । तीन चरण समाप्तिमा उनीसँगै १४ खेलाडीले समान ३ अंक बनाएका छन् । चौथो चरणमा उनले भारतका मधुसुदन केआरसँग कालो गोटीबाट प्रतिस्पर्धा गर्नेछन् । कोभिडका कारण दुई वर्षपछि आयोजित प्रतियोगितामा एसियाका २० देशका १ सय ४६ खेलाडीले भाग लिएका छन् ।
सन्जीव र सन्जीत सम्मानित
काठमाडौं (कास)– उमा कुङफु स्कुलले डब्लूएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जीव तामाङ र सन्जीतकुमार राईलाई शनिबार सम्मान गरेको छ । कुङफु स्कुलले दसैं–तिहारको अवसरमा आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरिएको हो । स्लोभेनियामा सेप्टेम्बर २३–२५ सम्म भएको प्रतियोगितामा उनीहरूले पदक जितेका थिए । उनीहरूलाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, स्कुलका संस्थापक रमेश महर्जनलगायतले सम्मान गरे । मनीष पुटुवार, सिओन सुनुवार र नीराजन मोक्तानले पहिलो डान को प्रमाणपत्र पाए ।