(काठमाडौं) - एमालेले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । १८ क्षेत्रमा एमाले उम्मेदवारको मुख्य प्रतिस्पर्धी पूर्वएमाले नेता छन् । ती पूर्वसहकर्मी एकीकृत समाजवादी, माओवादीबाट र स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरूबीच पछिल्लो समय चलिरहेको आरोप–प्रत्यारोपले चुनावी प्रतिस्पर्धा पनि तिक्ततापूर्ण हुने देखिएको छ ।
एमाले विभाजनपछि गत वर्ष गठित एकीकृत समाजवादीले गठबन्धनको भागबन्डाअनुरूप १९ ठाउँमा उम्मेदवार उठाएको छ, त्यसमध्ये रुपन्देही २ का उम्मेदवार राजु गुरुङका विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । तीन क्षेत्रमा भने एकीकृत समाजवादीले गठबन्धनबाहिरबाट एक्लै उम्मेदवारी दिएको छ । एक उम्मेदवारका विषयमा भने अदालतमा मुद्दा विचाराधीन छ । १५ क्षेत्रमा एकीकृत समाजवादीको मुख्य प्रतिस्पर्धा एमालेसँग छ । एकीकृत समाजवादी आफैंको कमजोर मतभार रहे पनि उसलाई कांग्रेस र माओवादीको साथ छ । चासोको केन्द्रमा भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल छन् ।
स्थानीय निर्वाचनको चुनावी परिणामका आधारमा खनालभन्दा नेपाल सुविधामा देखिन्छन् । खनाल इलाम १ र नेपाल रौतहट १ बाट लड्दै छन् । नेपालसँग गौरनगरपालिकाका पूर्वप्रमुख एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् । उनी लोसपाबाट एमाले प्रवेश गरेका हुन् । खनालविरुद्ध एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले उम्मेदवारी दिएका छन् ।
झलनाथ खनाल (एस)–महेश बस्नेत (एमाले)
०४८ यताका सबै संसदीय निर्वाचन लडेका झलनाथ खनाल सातौं पटक प्रतिस्पर्धामा छन् । यसअघिसम्म सूर्य चिह्नबाट उठेका उनी ०५६ सालमा मात्र पराजित भएका थिए । अहिले उनी एकीकृत समाजवादीबाट कलम चिह्न लिएर प्रतिस्पर्धामा छन् । आफ्नो लागि संसदीय निर्वाचन अन्तिम भएको घोषणा गरेका पूर्वप्रधानमन्त्री खनालविरुद्ध एमालेका जिल्ला अध्यक्ष एवं इलाम नगरपालिका पूर्वप्रमुख महेश बस्नेतले उम्मेदवारी दिएका छन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा खनाल आबद्ध गठबन्धनको मत बढी छ । तर त्यहाँ कांग्रेस नेता विक्रम पाण्डे बागी उम्मेदवार छन् । इलाम–१ मा वडाध्यक्षका उम्मेदवारमध्ये एमालेकाले २६ हजार २ सय ३३, कांग्रेसकाले २५ हजार ७ सय ७२, एकीकृत समाजवादीकाले ९ हजार ४ सय ८१, जसपाकाले १ हजार ८ सय २९, माओवादीकाले १ हजार २ सय ३५ र राप्रपाकाले १ हजार १ सय ६९ मत प्राप्त गरेका थिए ।
गोकर्ण विष्ट (एमाले)–रामकुमारी झाँक्री (एस)
विगतमा एमालेभित्र पनि एउटै समूहमा रहेर काम गरेका गोकर्ण विष्ट र रामकुमारी झाँक्री अहिले गुल्मी–२ बाट चुनावी प्रतिस्पर्धामा छन् । विष्ट एमालेका र झाँक्री एकीकृत समाजवादीकी सचिव हुन् । झाँक्री ०७४ को निर्वाचनमा विष्टलाई जिताउन चुनावी अभियानमा खटिएकी थिइन् । अनेरास्ववियुबाट स्थापित भएकी झाँक्री पहिलो पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उठ्न लागेकी हुन् । उनी प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीकी एक्ली महिला उम्मेदवार हुन् । झाँक्री ०७४ मा समानुपातिकबाट सांसद बनेकी थिइन् भने विष्टले गुल्मी–२ बाट चुनाव जितेका थिए । विष्ट प्रतिनिधिसभा निर्वाचन ०५६ र संविधानसभा सदस्य निर्वाचन ०७० मा गुल्मी–३ बाट निर्वाचित भएका थिए । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा गुल्मी–२ मा एकीकृत समाजवादी चौथो पार्टी हो । स्थानीय चुनावमा एमालेले ३१ हजार २ सय ५३, कांग्रेसले २९ हजार ८ सय २१, माओवादीले १ हजार ८ सय ४१, एकीकृत समाजवादीले ६ सय ५८ र राप्रपाले १ सय १ मत प्राप्त गरेका थिए ।
सोमप्रसाद पाण्डे (एस)–ठाकुर गैरे (एमाले)
अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे समकालीन नेताहरूले पहिलेदेखि नै चुनावी प्रतिस्पर्धामा उत्रन पाउँदा पनि टिकट पाउनबाट वञ्चित थिए । त्यसको कारण थियो, ठाकुरकै क्षेत्रमै रहेका नेता सोमप्रसाद पाण्डे । गैरेले संविधानसभाको दोस्रो चुनावमै पाल्पा–२ बाट उम्मेदवार हुन चाहेका थिए । तर पार्टीले पाण्डेलाई उम्मेदवार बनायो । व्यापारिक पृष्ठभूमिका पाण्डेको सम्बन्ध शीर्ष नेताहरूसँग थियो । उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सम्धी हुन् । एमाले विभाजनपछि पाण्डे एकीकृत समाजवादीमा जाँदा गैरेले पाल्पा–२ मा उम्मेदवार बन्ने अवसर पाएका छन् । गैरेको
प्रतिस्पर्धी भने उनै पाण्डे परेका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार पाल्पा–२ मा एमालेको ३० हजार ५ सय ६६, कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३ सय १३, एकीकृत समाजवादीको ४ सय ३३ र राप्रपाको ३ सय ३६ मत छ ।
राजेन्द्र पाण्डे (एस)–भूमि त्रिपाठी (एमाले)
धादिङका पुराना नेता राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठी पहिलो पटक आमनेसामने भएका छन् । उनीहरू पछिल्लो एक दशकदेखि फरक समूहमा थिए । जिल्लामा पाण्डेविरोधी मोर्चाको नेतृत्व खेम लोहनीले गर्दा त्रिपाठी पाण्डेको साथमा थिए । तर केपी शर्मा ओली राजनीतिमा उदय भएसँगै त्रिपाठी पाण्डेविरोधी कित्तामा पुगे । यस पटक प्रतिनिधिसभा निर्वाचनमा धादिङ–१ मा पाण्डे र त्रिपाठी आमनेसामने भएका छन् । ०७४ को निर्वाचनमा पाण्डे मुख्यमन्त्री बनाइने आश्वासन पाएर प्रदेशसभा र त्रिपाठी वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर पछि पाण्डेलाई मुख्यमन्त्री नबनाउन भन्दै त्रिपाठी नेतृत्वको समूहले लबिइङ गरेको चर्चा छ । पाण्डे पार्टी विभाजनपछि मात्र वाग्मती प्रदेशको मुख्यमन्त्री हुन सके । उनी एमालेका तर्फबाट ०४८, ०५१, ०५६ र ०७० को संसदीय निर्वाचनमा पनि विजयी भएका थिए । पाण्डे अहिले एकीकृत समाजवादीको उपाध्यक्ष छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको ३७ हजार ७ सय ७८, माओवादीको २४ हजार ९ सय २५, कांग्रेसको १९ हजार ४ सय २३, एकीकृत समाजवादीको ८ हजार ८ सय ३६ र राप्रपाको १ हजार २ सय २२ मत छ ।
जीवनराम श्रेष्ठ (एस)–शिवसुन्दर राजवैद्य (एमाले)
एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ र एमालेका काठमाडौं जिल्ला समन्वय समितिका पूर्वप्रमुख शिवसुन्दर राजवैद्यबीच काठमाडौं–८ मा मुख्य प्रतिस्पर्धा हुँदै छ । पर्यटनमन्त्री श्रेष्ठ ०७४ को निर्वाचनमा एमालेबाट विजयी भएका थिए । यस पटक उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । राजवैद्य भने पहिलो पटक चुनावी मैदानमा उत्रिका हुन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार काठमाडौं–८ मा एमाले दोस्रो र एकीकृत समाजवादी तेस्रो दल हुन् । निर्वाचनमा कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३, एकीकृत समाजवादीले ५ हजार १ सय ४२, राप्रपाले ३ हजार १ सय ६० र माओवादीले १ सय ८९ मत प्राप्त गरेका थिए ।
शान्ता चौधरी (एमाले)–मेटमणि चौधरी (एस)
पार्टी मात्र नभएर थारू आन्दोलनमा सँगै संघर्ष गरेका शान्ता चौधरी र मेटमणि चौधरी अहिले दाङ–१ बाट प्रतिस्पर्धा गर्दै छन् । शान्ता एमाले र मेटमणि एकीकृत समाजवादीका उम्मेदवार हुन् । ०७४ को निर्वाचनमा मेटमणिलाई जिताउन शान्ता चुनावी अभियानमा थिइन् । ०७४ मा समानुपातिकबाट सांसद बनेकी शान्तालाई उनकै अर्की सहकर्मी गंगा चौधरीले बागी उम्मेदवारी दिएर चुनौती थपिदिएकी छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको
मतलाई आधार मान्दा दाङ–१ मा एकीकृत
समाजवादी पाँचौं दल हो । तर एकीकृत समाजवादी आबद्ध गठबन्धन दलको मत बढी छ ।
स्थानीय निर्वाचनमा कांग्रेसले २९ हजार ७ सय ५७, एमालेले २७ हजार २५, माओवादीले १९ हजार २ सय ७६, राप्रपाले २ हजार ३ सय ५०, एकीकृत समाजवादीले २ हजार ३ सय ४१ र जसपाले ८ सय ७ मत प्राप्त गरेका थिए ।
विद्या भट्टराई (एमाले)–श्रीनाथ बराल (एस)
०७४ मा कास्की–२ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा एमालेले उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । तत्कालीन नेकपाका तर्फबाट उम्मेदवार बनेकी भट्टराईलाई जिताउने अभियानमा लागेका थिए, श्रीनाथ बराल । यस पटक यही क्षेत्रमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज बराल सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । एमालेले पुनः भट्टराईलाई नै उठाएको छ ।
बराल एमालेमा रहँदा पुराना भएर पनि अवसर नपाएका नेता भनेर चिनिन्छन् । एमाले विभाजन हुँदा उनी एकीकृत समाजवादीमा लागे । स्थानीय निर्वाचनमा उनी महानगरको प्रमुखमा उठ्न चाहेका थिए । तर धनराज आचार्यले टिकट पाए । गठबन्धनकै बलमा आचार्यले पोखरा महानगरपालिकाको प्रमुख जितेका छन् । स्थानीय निर्वाचनमा यस क्षेत्रमा एमालेले २१ हजार १ सय ६४, कांग्रेसले १९ हजार ८, राप्रपाले २ हजार ७९, एकीकृत समाजवादीले २ हजार ५३, माओवादीले १ हजार १ सय ९८ र जसपाले १ सय ५३ मत प्राप्त गरेका थियो । यो वडाध्यक्षका उम्मेदवारले पाएको मत हो । यस क्षेत्रमा बरालविरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी परेको छ ।
कृष्णलाल महर्जन (एस)–प्रेमलाल महर्जन (एमाले)
ललितपुर–२ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेमलाल महर्जन प्रतिस्पर्धामा छन् । प्रेमलाल पहिलो पटक संसदीय चुनावमा उत्रीएका छन् । कृष्णलाल यही क्षेत्रमा ०५६ र ०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनी संसद्मा धेरै उपस्थित हुने सांसदका रूपमा पनि परिचित छन् । यस क्षेत्रमा स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारमध्ये कांग्रेसकाले २१ हजार ८१, एमालेकाले १७ हजार ७ सय १२, माओवादीकाले ५ हजार २ सय ५४, राप्रपाकाले ३ हजार ५ सय ९३ र एकीकृत समाजवादीकाले ३ हजार १ सय ९२ मत पाएका थिए । कृष्णलाल सत्ता गठबन्धनका उम्मेदवार हुन् । उनको विजय अन्य दलबाट हुने मत ‘ट्रान्सफर’ मा निर्भर छ ।
विरोध खतिवडा (एस)–महेश बर्तौला (एमाले)
मकवानपुर–२ मा ०४८ यता चार पटक निर्वाचन लडेर सबैमा जित हासिल गरेका पूर्वमन्त्री विरोध खतिवडा र युवा नेता महेश बर्तौलाबीच प्रतिस्पर्धा हुँदै छ । एकीकृत समाजवादीका खतिवडा सत्तारूढ गठबन्धनका उम्मेदवार हुन् । बर्तौलालाई एमालेको राजनीतिमा ल्याउन खतिवडाकै भूमिका थियो । ०७४ को निर्वाचनमा बर्तौला खतिवडालाई जिताउने अभियानमा खटिएका थिए । विद्यार्थी राजनीतिबाट चर्चामा आएका बर्तौला दुई पटक मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । एमाले वाग्मती प्रदेश कमिटीका उपमहासचिव बर्तौला सो क्षेत्रमा नयाँ अनुहार हुन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा मकवानपुरमा एमाले पहिलो र एकीकृत समाजवादी चौथो दल हुन् । यस क्षेत्रमा एमालेले ३६ हजार ८ सय ६६, कांग्रेसले ३४ हजार २ सय ४०, माओवादीले २२ हजार ६ सय ७, एकीकृत समाजवादीले २ हजार ७ सय १९ र राप्रपाले १ हजार ५ सय ३६ मत ल्याएका थिए ।
प्रकाश ज्वाला (एस)–गुलाबजंग शाह (एमाले)
एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमाले पोलिटब्युरो सदस्य गुलाबजंग शाह पूर्वसहकर्मी हुन् । ०७४ को निर्वाचनमा दुवै जना एमालेबाट प्रदेशसभा सदस्य निर्वाचन लडेका थिए । एमाले–माओवादी गठबन्धन भएकाले त्यति बेला प्रतिनिधिसभामा माओवादीका उम्मेदवार थिए । तत्कालीन नेकपामा विवाद बढ्दा एमालेका केही सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार ढल्नबाट बचाएका थिए । त्यसको नेतृत्व माधवकुमार नेपालनिकट मानिने ज्वालाले गरेका थिए । शाह भने एमाले नेतृत्वको प्रदेश सरकार बनाउने प्रयासमा लागे पनि सफल भएनन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेसको ३३ हजार ६ सय १६, माओवादीको २६ हजार ७ सय १३, एमालेको २६ हजार ६ सय २८, एकीकृत समाजवादीको ९ हजार ४ सय ६७ र राप्रपाको २ हजार १ सय १७ मत छ ।
जगन्नाथ खतिवडा (एस)–अम्मरबहादुर रायमाझी (एमाले)
०७४ को निर्वाचनमा माओवादीले जितेको उदयपुर–२ मा यस पटक एमाले र पूर्वएमाले नेताबीच प्रतिस्पर्धा हुँदै छ । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा र एमालेबाट अम्मरबहादुर रायमाझी आमनेसामने भएका छन् । खतिवडा उदयपुरबाट तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी यसअघि एक पटक मात्र विजयी भएका थिए । रायमाझी भने पहिलो पटक चुनावमा उठेका हुन् । यस क्षेत्रमा कांग्रेसबाट रामकुमार राईको बागी उम्मेदवारी परेको छ । स्थानीय निर्वाचनमा एमालेले १८ हजार ५ सय ७३, कांग्रेसले ११ हजार ३ सय ४४, माओवादीले ८ हजार २ सय २, एकीकृत समाजवादीले ३ हजार ४ सय २७, जसपाले १ हजार ४ सय ३४ मत पाएका थिए ।
प्रेम आले (एस)–गौरी वली (एमाले)
एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा एकीकृत समाजवादीका प्रेम आले र एमालेका गौरी वली प्रतिस्पर्धामा छन् । ०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका आलेलाई जिताउन चुनावी
अभियानमा खटिएकी वली यस पटक प्रतिस्पर्धामा उत्रिएकी हुन् । एमाले विभाजनमा मुख्य भूमिका खेलेका आले ०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए । वली भने पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । वली संविधानसभा सदस्य एवं एमाले पोलिटब्युरो सदस्य हुन् ।एमाले र एकीकृत समाजवादीबाट दुई पटक मन्त्री भएका आले पटक–पटक विवादमा
तानिएका थिए । उनी अहिले सत्ता गठबन्धनका उम्मेदवार हुन् । त्यहाँ कांग्रेस त्यागेर नरेन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा कांग्रेस एक्लै बलियो छ । स्थानीय निर्वाचनमा कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९ सय १६, माओवादीले ७ हजार ७ सय ८९, एकीकृत समाजवादीले ३ हजार २ सय ५ र राप्रपाले ९ सय ८७ मत
ल्याएका थिए ।
भानुभक्त जोशी (एस)–ऐन महर (एमाले)
एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा पनि एमाले र पूर्वएमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी गठबन्धनका तर्फबाट चुनावी
मैदानमा छन् । एमालेले भने अनेरास्ववियुका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य ऐन महरलाई उम्मेदवार
बनाएको छ । एमाले बझाङका संस्थापक नेतासमेत रहेका जोशी पार्टी विभाजन हुँदा १० बुँदे सहमतिमार्फत एमालेमा नै बसेका थिए । तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै पछि उनले एमाले त्यागेर एकीकृत समाजवादी रोजेका थिए । महर पहिलो पटक
संसदीय निर्वाचन लड्दै छन् । जोशीले बझाङबाट
तीन वटा चुनाव लड्दा दुई वटामा जित हासिल गरेका थिए । स्थानीय चुनावमा बझाङमा एमालेले २८ हजार ६ सय ११, कांग्रेसले २० हजार १ सय ६६,
माओवादीले ९ हजार १ सय ४५, एकीकृत समाजवादीले ७ हजार ६ सय ३२ र राप्रपाले १ सय २८ मत
पाएका थिए ।
धनबहादुर बुढा (एस)–गणेशबहादुर शाही (एमाले)
एमाले विभाजनपछि केही समय एकीकृत समाजवादीमा सँगै रहेका धनबहादुर बुढा र गणेशबहादुर शाही अहिले एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पाको प्रतिनिधिसभा चुनावमा आमनेसामने छन् । एकीकृत समाजवादीका बुढा गठबन्धनबाट र शाही एमालेबाट प्रतिस्पर्धामा छन् । एमाले विभाजन हुँदा दुवै नेता एकीकृत समाजवादीमा लागेका थिए । ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका बुढा यस पटक पनि उम्मेदवार बन्ने तयारी गरेपछि शाही एमालेमा फर्किएका हुन् । तिनै शाहीलाई एमाले उम्मेदवार बनाएको छ । गत स्थानीय निर्वाचनमा डोल्पामा माओवादीले ४ हजार ८ सय ५५, एमालेले ४ हजार ५ सय ४५, कांग्रेसले ३ हजार ६९ र एकीकृत समाजवादीले १ हजार ३ सय ३४ मत पाएका थिए ।
रवीन्द्रराज शर्मा (एमाले)–अम्मरबहादुर थापा (एस)
दैलेख–१ मा पनि एमाले र पूर्वएमालेबीच प्रतिस्पर्धा हुँदै छ । यो क्षेत्रमा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मा प्रतिस्पर्धामा छन् । ०७४ को निर्वाचनमा दैलेखबाट प्रदेशसभा सदस्यमा निर्वाचित थापाले एमालेमै हुँदा
‘फ्लोर क्रस’ गरेर माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि उनको सांसद पद गुमेको थियो । उनी प्रदेश सरकारमा मन्त्री पनि भएका थिए । शर्मा ०४८ तथा मध्यावधि निर्वाचन ०५१ मा दुई पटक एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । स्थानीय चुनावमा यस क्षेत्रमा कांग्रेसले २० हजार ३ सय ४४, एमालेले १९ हजार ६१, एकीकृत समाजवादीले ५ हजार ५ सय २९, माओवादीले ३ हजार १ सय ७५ र राप्रपाले ९ सय ७६ पाएका छन् ।
हरिकुमार राना (माओवादी)–देवराज घिमिरे (एमाले)
झापा–२ मा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे र निर्वाचनको मुखमै एमाले छाडेर माओवादी प्रवेश गरेका हरिकुमार राना प्रतिस्पर्धामा छन् । घिमिरे र राना दुवैले पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । यस क्षेत्रमा स्थानीय निर्वाचनको मतभार हेर्दा एमाले पहिलो पार्टी हो । स्थानीय निर्वाचनमा एमालेले ३६ हजार ३ सय ९६, कांग्रेसले ३२ हजार ६ सय ७२, राप्रपाले ९ हजार ५ सय ३१, माओवादीले २ हजार ४ सय ३७, जसपाले ५ सय ६ र एकीकृत समाजवादीले १ सय ७३ मत ल्याएका थिए ।
घनश्याम भुसाल (स्वतन्त्र)–छविलाल विश्वकर्मा (एमाले)
प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही–१ प्रति धेरैको चासो छ । यहाँ मनोनयन दर्ताको अघिल्लो दिनसम्म एउटै पार्टी एमालेमा रहेका घनश्याम भुसाल र छविलाल विश्वकर्मा मुख्य प्रतिस्पर्धी छन् । पार्टीले टिकट नदिएपछि भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनलाई सत्ता गठबन्धनको समर्थन छ । ०७४ को निर्वाचनमा रूपन्देही–३ बाट जितेका भुसालले गृहक्षेत्र रूपन्देही–१ रोजेका हुन् । ०७४ को निर्वाचनमा विश्वकर्मा रूपन्देही–१ बाटै निर्वाचित भएका थिए । वडाध्यक्षका उम्मेदवारको मतका आधारमा स्थानीय निर्वाचनमा रूपन्देही–१ मा कांग्रेसले ३२ हजार ९ सय ९९, एमालेले ३० हजार ३ सय ९४, राप्रपाले १४ हजार ५ सय ५२, जसपाले ६ हजार ६ सय ९५, माओवादीले ४ हजार २ सय २, एकीकृत समाजवादीले १ हजार २ सय ४३ र लोसपाले ३ सय २५ मत पाएका थिए । यहाँ एमाले र राप्रपाको तालमेल छ ।