You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

आधा मतदाता ४० वारि : दुई तिहाइ उम्मेदवार ४० पारि

- मकर श्रेष्ठ

(काठमाडौं) - आगामी निर्वाचनमा झन्डै आधा मतदाता ४० वर्षमुनिका युवा छन् तर दुई तिहाइ उम्मेदवार भने ४० वर्षमाथिका छन् । १६ दिनपछि हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन् । यीमध्ये १८–४० वर्षका मतदाता ८८ लाख चार सय ३६ छन् ।
प्रमुख राजनीतिक दलहरूबाट उम्मेदवार बनेका मध्ये २५ देखि ४० वर्ष उमेर समूहका जम्मा ३१.४७ प्रतिशत मात्रै छन् । ४० वर्षमाथिका उम्मेदवार भने ६८.५३ प्रतिशत छन् । स्थानीय तहको नेतृत्वमा स्वतन्त्र रूपमा उठेका युवाले जितेसँगै अबको निर्वाचनमा पनि यस्तै नतिजा आउन सक्ने डर दलका नेताहरूमा छ ।
आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कुल २ हजार ४ सय १२ र प्रदेशसभामा ३ हजार २ सय २४ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ ४१ देखि ९९ वर्षसम्मका उम्मेदवार १ हजार ६ सय ५३ छन् । त्यस्तै प्रदेशसभामा पनि यो उमेर समूहका उम्मेदवार २ हजार २ सय १७ जना अर्थात् ६८.७६ प्रतिशत छन् । गत स्थानीय निर्वाचनमा भने उम्मेदवारी दिनेमध्ये ४१ प्रतिशत युवा थिए ।
यो निर्वाचनमा १८–२५ वर्षका मतदाता मात्रै २२ लाख ९४ हजार १९ छन्, यो कुल मतदाताको १२.७५ प्रतिशत हो । त्यस्तै २६–४० वर्षका मतदाता ३६.१७ प्रतिशत छन् । आउँदो निर्वाचनमा युवाको मत निर्णायक हुने देखिएकाले नतिजामा असर पर्न सक्ने राजनीतिक विश्लेषक विष्णु सापकोटाको आकलन छ ।

भन्छन्, ‘जनता एकातिर, दलहरू अर्कातिर छन् । दल र मतदाताको सोच नै फरक छ । स्थानीय तहमा पनि केही स्थानीय तहको नतिजा फरक आयो । आउँदो निर्वाचनको नतिजामा पनि उतारचढाव आउन सक्छ ।’
६ महिनाअघि स्थानीय तहमा निर्वाचित ४० प्रतिशत अर्थात् १४ हजार ४ सय ४ प्रतिनिधि युवा छन् । अब हुने निर्वाचनमा पनि आधा मतदाता युवा भएकाले उम्मेदवारलाई चुनौती रहेको सापकोटाको विश्लेषण छ । राजनीतिले आशा जगाउन छाडेकाले युवामा वितृष्णा रहेको उनको बुझाइ छ । ‘नयाँ संविधान, संघीयतालगायत ठूला परिवर्तनले केही आशा जगाए पनि पछिल्लो समय मतदातामा राजनीतिप्रति वितृष्णा छ, त्यो चुनावमा प्रकट हुने सम्भावना छ,’ सापकोटा भन्छन् ।
४१ वर्षभन्दा बढी उमेरका मतदाता ५१ प्रतिशत छन् । आयोगका अनुसार ४१–५० वर्षका मतदाता १७.५६ प्रतिशत अर्थात् ३१ लाख ५८ हजार ५ सय २६ जना छन् । यो समूहका मतदाता सबैभन्दा बढी वाग्मती प्रदेशमा ६ लाख ३० हजार छन् । ५१–६० वर्ष उमेरका मतदाता २६ लाख ८२ हजार ६९ अर्थात् १४.९१ प्रतिशत छन् । त्यस्तै ६१–७० वर्षका मतदाता १०.२९ प्रतिशत छन् । ७१–८० वर्षका मतदाता १० लाख ६२ हजार ७३ जना अर्थात् ५.९ प्रतिशत छन् । आयोगका अनुसार ८१ वर्षभन्दा माथिका मतदाता २.४१ प्रतिशत अर्थात् ४ लाख ३४ हजार १ सय ९५ जना छन् ।
एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौं–८ मा प्रतिनिधिसभा सदस्यको टिकट पक्का भएको थियो तर युवालाई अवसर दिन भन्दै उनी उम्मेदवार बन्न चाहिनन् । ‘मतदाता युवा धेरै छन्, पार्टीमा पनि युवा आएका छन्, मैले त अवसर पाएर यहाँसम्म पुगिसकें,’ उनले भनिन्, ‘युवालाई प्राथमिकता दिनुपर्ने भएकाले उम्मेदवारी दिइनँ ।’
युवा मतदाताले विश्वका विकसित मुलुकमा जस्तै तत्काल परिवर्तन खोज्ने गरेको उनको बुझाइ छ । ‘राजनीतिमा युवा
केही गर्छु भनेर आइरहेकाले उनीहरूलाई डोर्‍याउने काम पाको पुस्ताले गर्नुपर्छ, युवाले परिवर्तन चाहेको छ, व्यवस्था छिटो परिवर्तन होस् भन्ने चाहन्छन् तर हाम्रो मुलुकको स्थिति बुझ्न जरुरी छ,’ उनी भन्छिन् ।
ललितपुर–३ की माओवादी उम्मेदवार पम्फा भुसालले
उमेरकै कारण प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो अन्तिम
पटक भएको घोषणा गरिसकेकी छन् । ‘म ६० वर्ष पुगें ।
१६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ
बसेको । म गत साउन ४ बाट ६० वर्ष पुगें । अर्को संसद् आउने बेलासम्म ६५ वर्ष पुग्छु,’ उनले भनिन्, ‘अब मभन्दा युवा साथीहरू आउनुहोस् ।’
राजनीतिशास्त्री प्राध्यापक कृष्ण हाछेथुले अहिलेका युवा दलको विचारप्रति तुलनात्मक रूपमा निरपेक्ष रहेकाले नतिजामा फरक पार्न सक्ने बताउँछन् । ‘दलको विचारबाट टाढा भएका युवा संगठित छैनन्, त्यसैले दिल्लीमा जस्तो नतिजामा असरचाहिँ नगर्न सक्छ,’ भन्छन् ‘धेरैजसो युवा ठूला दलको पकडमा छन् । जेसुकै होस्, असर त पारिहाल्छ नि ।’

 

मुख्य पृष्ठ

बारपाकका दलित मतदाता अझै टहरामा

- जनकराज सापकोटा,हरिराम उप्रेती

(गोरखा) - भूकम्पले ढालेको काठमाडौंको धरहरा नयाँ उभिइसक्यो । तर सात वर्ष बित्दा पनि इपिसेन्टर बारपाकमा मंगलबहादुर विकको बिथोलिएको जिन्दगीको लय फर्किन सकेको छैन । भूकम्पले घर भत्काएपछि गैरीगाउँ र डाँडागाउँका मंगलबहादुरसहितका ३२ घरपरिवार अलि तल रहेको कृषि, जलाधार र पशु कार्यालयअन्तर्गतको सरकारी जग्गामा सरेर टहरो हालेर बसेका थिए ।
भूकम्पको परकम्प त पछिल्ला महिनाहरूमा दोहोरिएको छैन तर यहाँका दलित भने भूकम्पले दिएको पीडाबाट बाहिर निस्कन सकेका छैनन् । पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको सफलताको कथा सुनाइरहँदा यो बस्ती भने पुनर्निर्माणमा छिरेको राजनीति र बदलिरहने सरकारी नीतिको सिकार भएको देखिन्छ ।
डाँडा नै थर्किने गरी सबैका घर गर्ल्यामगुर्लुम्म ढलेकै बेला मंगलबहादुरसहितका दलित बस्तीका सबैको घर भत्किएको थियो । घर भत्किएका सबैजसोको नाम भूकम्पपीडित लाभग्राही सूचीमा छ । उनीहरूले बास पुनर्निर्माणबापत पहिलो किस्ताको ५० हजार पनि बुझिसकेका छन् । सरकारी राहतदेखि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा बारपाकका १४ सय घरधुरीले घर बनाइसक्दा पनि २४ घरधुरी भने साँघुरा टिनका टहरामुनि बस्न बाध्य छन् । जहाँ खानेपानीदेखि शौचालयसम्मको गतिलो प्रबन्ध छैन ।
बारपाकको मुख्य बस्ती छिर्ने नजिकैको भिरालो सरकारी
जग्गामा उतिबेला सरेका ३२ परिवारमध्ये अहिले २४ परिवारका टहरा छन् । ती टहराको छेउछाउमा त्रिपालका स–साना गोठ छन् । जसमा उनीहरूले जीविकोपार्जनका लागि जेनतेन बस्तुभाउ पालेका
छन् । हिउँदमा शीत र बर्खामा
पानी चुहिने साँघुरा टहरामा बस्दा यहाँका बालबालिका र वृद्धवृद्धा बारम्बार बिरामी पर्छन् । बर्सेनि डाँडाभाटा फेर्दै र चुहिने प्वाल टाल्दै बस्नुपर्ने बाध्यताबाट कहिले मुक्ति मिल्ने हो थाहा नभएको मंगलबहादुरले दुखेसो सुनाए ।
भूकम्पपछिको पुनर्निर्माणको ठूलो काम सकिँदा पनि यो दलित बस्ती किन जस्ताका टहरामुनि बस्न बाध्य भयो भन्ने बुझ्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुरानो निर्णयसम्म पुग्नुपर्छ । भूकम्पलगत्तै सुरक्षित स्थानको खोजीमा ३२ घर दलित सरकारी जग्गामा सरेका थिए । दलितहरूको बसोबास रहेको करिब सात रोपनी खण्डहर जग्गामा प्राधिकरणले ‘भूकम्प स्मृति जीवित संग्रहालय’ बनाउने योजना अघि सारेको थियो ।
बस्तीबाट सरेकाहरूलाई अन्यत्र सरकारी जग्गामा मुआब्जास्वरूप दिइने सर्तमा केही स्थानीयले प्राधिकरणलाई लालपुर्जा बुझाए । तर यस्तो निर्णयमा सबै गाउँले सहमत भएनन् । एकाधले पुरानो थातथलो छाडेर अन्त नजाने तर्क गरेपछि समुदाय विभाजित भयो । पुरानो थातथलोमा बस्ने र मुआब्जा लिएर नयाँ ठाउँमा सर्ने भन्ने दुई समूहलाई स्थानीय राजनीतिक दलहरूले आ–आफ्नो मुद्दा नै बनाए ।

भूकम्पपछि सुरु भएको यो विवादमा राजनीति पसेपछि विषय पेचिलो बन्दै गयो । फलतः अहिले २४ घरधुरी सरकारी जग्गामा टहरामा छन् भने सरकारी राहत लिएर केही पुरानै थातथलोमा घर बनाएर बसिरहेका छन् ।
टहरोमा बसिरहेकाहरू पुरानो बस्ती भौगर्भिक रूपमा पनि जोखिमयुक्त रहेको तर्क सुनाउँछन् । किनकि २०५६ सालमा यो बस्ती पहिरोको जोखिममा परेको थियो । त्यतिबेला उनीहरू केही महिनासम्मकै लागि थातथलो छोडेर अन्यत्र बसेका थिए । पुरानो थलोबाट सरेकाहरू नफर्कने बरु त्यहीँको सरकारी जग्गा मुआब्जास्वरूप दिनुपर्ने अडान राखेपछि टहरोमै बस्न बाध्य भए ।
स्थानीय अगुवाहरू दलित बस्तीको दुःखका पछाडि विभाजित राजनीति र सरकारको प्रस्ट दृष्टिकोणको अभावलाई जिम्मेवार देख्छन् । सरकारी जग्गामा बसेका विस्थापितमध्येका एक हुन्, सुकबहादुर विक । उनी ०७४ सम्म माओवादीको स्थानीय राजनीतिमा सक्रिय थिए । स्थानीय चुनावमा माओवादीबाट पालिका प्रमुखमा टिकट नपाएपछि उनी पार्टीसँग रुष्ट भए र चुनावलगत्तै कांग्रेसमा प्रवेश गरे । यसपछि विस्थापित दलितहरूमध्ये सरकारी जग्गामै बसिराख्नेहरूको नेतृत्व सुकबहादुरले गर्न थाले भने पुरानै थातथलोमा बस्ने भन्नेहरूको नेतृत्व माओवादीले गर्न थाले । यसरी भूकम्पको साझा पीडा भोगेको दलित समुदायमा दुई भागका विभाजित बनेपछि वर्षौंसम्म साझा निष्कर्ष निस्कन सकेन ।
सात वर्षपछि गत साउन ९ मा मन्त्रिपरिषद् बैठकले साविक बारपाक गाविसको ६ रोपनी १० आना ३ पैसा जग्गा सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको छ । उक्त बैठकले भूकम्पपीडितको जग्गा भूकम्प स्मृति पार्क निर्माणका लागि ‘भूकम्प स्मृति पार्क, गोरखा’ को नाममा प्राप्त गर्ने र त्यसरी प्राप्त हुन आएको जग्गामा नबढ्ने गरेर सट्टाभर्ना दिने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्को यस्तो निर्णय सबै दलित बस्तीका बासिन्दाका निम्ति लागू हुने हो वा सरकारी जग्गामा बसेकाहरूको हकमा मात्रै भन्ने प्रस्ट छैन ।
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको तीन लाख रुपैयाँ बुझेर पुरानै ठाउँमा घर बनाएकाहरू पछिल्लो निर्णयले आफूहरूको बास उठ्छ कि भन्ने चिन्ता बढाइदिएको छ । पुरानै थलोमा बसिरहेका स्थानीय राजु सुनारले मन्त्रिपरिषद्को निर्णय राजनीतिक हिसाबले काखी च्यापेर गरिएको बताए । ‘हामीसँग कुनै छलफल भएन, कुनै प्राविधिक आएर अवलोकन पनि गरेनन् । विवाद छ भनेपछि छानबिन टोली पनि आएको थाहा पाइएन,’ उनले भने, ‘एकैचोटि सट्टाभर्ना गर्ने निर्णय भयो रे भन्ने सुनेका छौं । किन यस्तो निर्णय भयो, चुनावपछि यो निर्णयको विरुद्ध के गर्न सकिन्छ प्रक्रियाबारे बुझ्दै छौं ।’ पाँच वर्षअघि संग्रहालय बनाउनका लागि जग्गा दिने सहमति गर्दा पनि आफूहरूसँग कुनै छलफल नभएको उनी बताउँछन् । ‘सुकबहादुरजी गाउँको जान्नेबुझ्ने व्यक्ति हुनुहुन्थ्यो, बसिरहेको जग्गामा संग्रहालय बनाउने सहमति पनि एकलौटी रूपमा उहाँले गरेर पठाउनुभएछ,’ उनले भने, ‘भूकम्पको डेढ वर्षपछि तारबार लगाउने मान्छे आए । किन तारबार लगाउन लागियो चासो राख्दा बल्ल संग्रहालय बनाउने भन्ने थाहा पायौं ।’ स्थानीयको इच्छाअनुसार जग्गा सट्टाभर्ना गर्ने वा आफ्नै थातथलोमा बस्ने निर्णय हुनुपर्ने उनको मत छ । उनले भने, ‘जो तल बस्छ उहाँहरूलाई तलै जग्गा दिए भयो, माथि बस्न चाहनेलाई माथि नै दिनुपर्छ ।’
पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने निर्णय केका आधारमा गर्‍यो र केका आधारमा प्राधिकरण पछि हट्यो भनेर स्थानीयले बुझ्न सकेका छैनन् । प्राधिकरणको कदमले नै दलित समुदाय विभाजित भएको केहीको बुझाइ छ । राजुले संग्रहालय बनाउने भने पनि भूकम्पले भत्किएका घर जस्ताको तस्तै राख्न प्राधिकरणले काम नथालेको बरु केहीले भत्केको घरबाट काठ निकाल्न थालेपछि संग्रहालयको अर्थ नरहेको बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गरेर पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णय भएको आरोप लगाए ।
राजनीतिक हिसाबले दलित बस्ती दुई भागमा विभाजित बनेर आ–आफ्नो अडान नछाड्दा समस्या थपिएको स्थानीय अगुवा बताउँछन् । दलित बस्ती रहेको वडा नम्बर १ का वडाध्यक्ष धनबहादुर घले ५ घर पुरानै ठाउँमा बस्ने अडानमा रहने र अरू सरकारी जग्गामा टहरो हालेर बस्ने भनेर विभाजित भएपछि समस्या बल्झिएको बताउँछन् । पछिल्लो सरकारी निर्णय कार्यान्वयनका लागि चुनावपछि सर्वदलीय बैठक डाक्ने उनले बताए ।
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयको केन्द्रले संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीलाई सरकारको निर्णय पठाएको छ । ‘आवश्यक कार्यार्थ’ भन्दै मन्त्रिपरिषद् बैठकको निर्णय प्राप्त भएको कार्यालयका इन्जिनियर वीरबल सुनारले बताए । ‘जग्गा प्राप्ति ऐनअनुसार गर्ने कि मन्त्रिपरिषद्को निर्णय छ, फिल्डमा गएर परिचालन हुने, यसमा कन्फ्युज छौं,’ उनले भने, ‘सीडीओ साबसँग पनि मिटिङ बसेर यसबारे निर्क्योल गरेर अघि बढ्छौं ।’ यसबारेमा छलफल सुरु गरिएको बताउँदै उनले भने, ‘जग्गा बाँड्ने हाम्रो काम होइन, गाँठो फुकाउनका लागि हाम्रो पहल हुन्छ ।’
सरकारी जग्गामा बसेका गाउँलेका अनुसार यहाँ बस्नेहरूमध्ये १ रोपनीदेखि १/२ आना जग्गा हुनेहरू छन् । जसको शोधभर्नाको टुंगो नलाग्दा उनीहरू अव्यवस्थित रूपमा बस्न बाध्य छन् । यिनै टहरामध्ये एउटामा बस्छन्, लीलबहादुर विक । पुरानो बस्ती भएको ठाउँ संग्रहालय बनाउँछु भनेर प्राधिकरणले नभनेको भए आफूहरूले अहिलेसम्म घर बनाइसक्ने उनी बताउँछन् । जस्ताको टहरामुनि बस्दाको दुःखेसो सुनाउँदै उनले भने, ‘हावाहुरी आउँदा आगो फुक्न सक्दैनौं । कतिबेला धुरी उडाउला जस्तो हुन्छ ।’
पुरानो थातथलोबाट सरकारी जग्गामा उनीहरू सरेपछि सहरी विकास विभागले यहाँ ४ वटा शौचालय र ४ वटा बाथरुम बनाइदिएको छ । तर सामूहिक शौचालय र बाथरुम २४ घरका निम्ति पर्याप्त छैनन् । लाभग्राही सूचीमा परेका अरूले तीन लाख पुनर्निर्माणको राहत पाउँदा उनीहरूले सरकारी अनिर्णयका कारण न राहत पाए न त भरपर्दो विकल्प नै । लीलबहादुरले समयमै सरकारले लालपुर्जा दिएको भए यतिबेलासम्म आफूहरूले घर बनाइसक्ने थियौं भनेर सुनाए । स्थानीय मंगलबहादुर विकका पनि उस्तै दुःख छन् । पुरानो बस्तीमा नजिकै चरन सुविधा थियो, धेरैले पशुपालनबाट गुजारा चलाउँथे, नयाँ ठाउँमा सरेपछि त्यस्तो अर्थोपार्जनको मेलो टुटेको उनले सुनाए । ‘पहिले त घर र गोठ छुट्टछुट्टै थियो, अहिले एउटै जस्तो छ । अनि धेरैले पाल्न सक्नेजति बस्तुभाउ पनि पालेका छैनन्,’ उनले भने । भूकम्पले दिएको पीडा सेलाइनसकेको यो बस्तीमा गतवर्ष कोरोना संक्रमणका कारण झनै दुःख थपियो । सुकबहादुरका अनुसार कोरोना संक्रमणकै कारण बस्तीका ५ जना ज्येष्ठ नागरिकको निधन भयो । सरकारले समयमै निर्णय नगरेकाले सामूहिक बसोबासमा संक्रमण छिटो फैलिएको उनले बताए ।
पुरानो थातथलो नछाडेका दलितहरूले भने सरकारी अनुदानमा अरू रकम खर्चेर घर बनाइसकेका छन् । तर उनीहरू बस्ती विभाजित भएको र पछिल्लो पटक मन्त्रिपरिषद्ले मुआब्जा दिने निर्णयका कारण आफ्नो उठिबास लाग्ने हो कि भन्ने चिन्तामा छन् । स्थानीय कान्छी सुनारले पहिला मिलेर बसेको बस्तीमा भूकम्पपछि विभाजन देखिएको गुनासो गरिन् । उनले भनिन्, ‘अहिले कोही उतै बस्ने भन्छन् । हामी यता बसेकालाई पनि के पो गर्ने हुन भन्ने पीर छ ।’ कुमारी सुनारले पनि पुरानै थातथलोमा घर बनाइसकेकी छन् । आफूले दसौं वर्ष बसेको थातथलो छाड्न नसकेको तर यही कुरामा अनावश्यक विवाद झिकेपछि विवाद बढेको उनले बताइन् । वडा नम्बर १ की पूर्ववडा सदस्य विष्णुमाया सुनारले आफूहरूलाई सरकारले दिने शोधभर्ना भन्दा पुरानै थातथलो प्यारो रहेको बताइन् । उनले भनिन्, ‘सबैको कुरा नबुझी सरकारले निर्णय गर्दा यस्तो विवाद आयो ।’
बारपाक गोरखाको क्षेत्र नम्बर २ मा पर्छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू भोट माग्न आउँदै छन् भन्ने स्थानीयले सुनेका छन् । आफ्ना समस्या सुनाउने नसुनाउने पक्षमा पनि स्थानीयको स्वर विभाजित छ । टहरामै बसिरहेका दलित समुदाय आफ्ना उम्मेदवारलाई दुःख सुनाउने पक्षमा छन् । स्थानीय कुमारी सुनारले जस्ता पाताको टहरोमा बस्दा चिसोले रोगी बनाइसकेको बताइन् । उनले भनिन्, ‘भूकम्पले थपिदिएको दसा अझै सकिएको छैन । हाम्रो कुरा सुन्लान त ?’ पुरानै थातथलोमा बसिरहेकी स्थानीय कुमारी सुनारले भने नेताहरूसँग केही कुरा सुनाउनको अर्थ नहुने भन्दै आक्रोश पोख्दै भनिन्, ‘नेताहरूले भनेका कुरा कहिल्यै पूरा गर्दैनन् । त्यसैले नेता नै आए पनि हामी त केही नमाग्ने भनेर बसेका छौं ।’

मुख्य पृष्ठ

सन्दीप कारागार चलान

- मातृका दाहाल

(काठमाडौं) - नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । वादी र प्रतिवादी दुवैतर्फको थुनछेक बहसपछि शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मुद्दाको किनारा नलागेसम्म प्रतिवादीलाई थुनामा राख्न आदेश भएबमोजिम सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथ देवल चलान
गरिएको छ ।

केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले अदालतबाट लेखिआएबमोजिम उनलाई ‘भद्र ब्लक’ मा राखिएको छ ।
सन्दीपले अब कारागारमै बसेर आफूमाथि लागेको अभियोगको प्रतिरक्षा गर्नु पर्नेछ । पीडितका तर्फबाट बहस गरेका सरकारी वकिलहरूले सन्दीपले नाबालिग बलात्कार गरेको तथ्य र प्रमाणबाट पुष्टि भएकाले उनलाई थुनामा राखेर मुद्दाको किनारा लगाउन माग गरेका थिए । यता प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले तारेखमा राख्न माग गरेका थिए । तर, अदालतले प्राप्त प्रमाणका आधारमा उनलाई तारेखमा छाड्न इन्कार गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार मुलुकी अपराध संहिता २०७४ को दफा २ सय १९ अनुसार १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउनुपर्ने मागदाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार सन्दीपलाई सजाय हुनुपर्ने मागदाबी छ । उक्त उपदफामा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ । काठमाडौं प्रहरी वृत्त गौशालाले गत कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । त्यसको अर्को साता सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनको सुझावअनुसार नै सजाय मागदाबी लिएर अभियोगपत्र अदालतमा दायर गरेको थियो ।
सन्दीपले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा पीडित नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट भदौ २२ मा प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।
जाहेरी पर्दा सन्दीप केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका उनी असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । उनी वेस्ट इन्डिजमै रहँदा नेपाली क्रिकेट टिको कप्तानबाट निलम्बनमा परेका थिए । अदालतले पक्राउ गरी अनुसन्धान अघि बढाउन भदौ २३ मा आदेश दिएलगत्तै फरार सूचीमा समेटिनुका साथै कप्तानबाट निलम्बनमा परेका थिए । त्यसपछि विदेशबाटै सम्पर्कविहीन सन्दीप उतैबाट अमेरिका पुगेका थिए । असोज ७ मा इन्टरपोलले समेत फरार सूचीमा राखेर खोजी थालेपछि उनी अमेरिकाबाट कतार हुँदै असोज २० मा नेपाल आएका थिए ।

Page 2
समाचार

सामाजिक सञ्जालले प्रभावित नर्सिङ सेवा

- विद्या राई

(काठमाडौं) - असोज अन्तिम साता मीनभवनस्थित सिभिल अस्पतालमा जन्मिएको नवजात शिशुको स्वास्थ्यमा केही जटिलताहरू देखिए । आमा र बच्चाको उपचार गर्न थप केही दिन अस्पताल नै बस्नुपर्ने भएपछि उनीहरूलाई ‘वार्ड’ मा राखियो । सामान्यतया अस्पताल वार्डमा बसेका बिरामीहरूलाई चिकित्सक र नर्सिङ स्टाफले नियमित निगरानी राख्नुपर्ने हुन्छ । निगरानी समयबाहेक अरू बेला स्वास्थ्य समस्या आए कुरुवाले वार्ड काउन्टरमा बस्ने नर्सिङ स्टाफलाई खबर गरेपछि संवेदनशील भएर सेवा दिनुपर्ने हुन्छ । तर ती आमा र बच्चालाई भने नर्सिङ स्टाफले ध्यानपूर्वक लिएनन् ।
कुरुवाले ‘बच्चाको पेट खराबी भयो, सफा भएन’ भनेर वार्ड काउन्टरमा भन्न जाँदा नर्सिङ स्टाफ भने मोबाइलमा व्यक्तिगत भिडियो कल गरेर, टिकटक भिडियो बनाएर बसेका हुन्थे । तर बिरामीको समस्या राम्ररी सुन्दैन थिए । ‘पहिलो त उनीहरू आफैंले सेवा दिनुपर्ने हो, तर बिरामीले समस्या भनिसकेपछि चाँडो हेरचाह गर्नुपर्ने हो, छैन । सोध्दा राम्ररी नसुन्ने, झर्को मानेर जवाफ दिने, जति पटक कम्प्लेन गर्न गयो स्टाफहरू फोनमै झुम्मिएका हुन्थे,’ कुरुवा बसेका नवजात शिशुका बाबु मनबहादुर बस्नेतले भने । पटक–पटक समस्या भन्दा पनि अस्पताल कर्मचारीहरूले लापरबाही ढंगले लिएपछि स्वास्थ्य झन् जटिल हुने डरले उनीहरूले बच्चालाई महाराजगन्जस्थित कान्ति बाल अस्पताल पुर्‍याए ।
सुनसरीको इनरुवा बसेर काम गर्ने विनोद पौडेललाई जेठ अन्तिम साता अचानक स्वास्थ्य समस्या देखियो । चर्को ज्वरो, जीउ दुख्ने लक्षण देखिएपछि उनी स्वास्थ्य जाँच गर्न काठमाडौं आए । आकस्मिक परीक्षणका लागि एक जना आफन्तलाई कुरुवा लिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे । चिकित्सकले डेंगु वा कोभिडको आशंका गरेपछि दुवैका लागि रगत परीक्षण गर्न भने । नर्सिङ स्टाफले प्रयोगशालामा ‘एन्टिजेन’ लिइन् । रिपोर्ट बुझ्न बिरामीका आफन्त प्रयोगशालामा पुग्दा सिभिल अस्पतालमा मनबहादुरले खेपेकै सास्ती भयो । रगत लिनुअघि र पछि पनि नर्सिङ स्टाफ मोबाइलमा भिडियो कुराकानीमै व्यस्त थिइन् । ‘रिपोर्ट बुझ्न जाँदा पनि कर्मचारीले राम्ररी नबोलिदिने, कतिबेला रिपोर्ट आउँछ, के कसो हुन्छ सोध्दा झर्किने, उल्टै रुखो स्वरमा अझै समय लाग्छ मात्रै भनिरहने जति पटक बुझ्न गए पनि,’ बिरामीका आफन्तले भने, ‘उनीचाहिँ विवरणहरू इन्ट्री गर्ने कम्प्युटरको साइडमा मोबाइल राखेर भिडियो च्याटमै व्यस्त हुन्थिन्, सायद यो मोबाइल फोन धेरै चलाएर पनि होला मानसिक रूपमा डिस्ट्र्याक भएर बिरामीप्रति संवेदनशीलता नै देखिँदैन थियो ।’
सिभिल अस्पताल र टेकुमा जस्तै पछिल्लो समय ‘स्मार्ट फोन’ र इन्टरनेटको बढ्दो पहुँच तथा प्रयोगले खासगरी नर्सिङ स्टाफहरूमा बिरामीको स्वास्थ्य संवेदनशीलताप्रति चासो नदेखाउने गरेको पाइएको छ । स्वास्थ्य संस्थामा निको हुने विश्वास लिएर पुगेका बिरामीहरूमाथि स्वास्थ्यकर्मीहरूको निगरानी फितलो बन्दा सेवा नै प्रभावित भइरहेको छ । जतिबेलै मोबाइलमा ध्यान हुने, गम्भीरतापूर्वक सेवा दिनुको साटो बिरामी र कुरुवाहरूसँग मैत्रीपूर्ण व्यवहारसमेत नदेखाउने गतिविधि पाइएका छन् । यसले बिरामीको अवस्था झन् जटिल बन्ने गरेको पाइएको छ । नाम उल्लेख नगर्ने सर्तमा एक जना चिकित्सकले भने, ‘गरिब, विपन्न समुदायका बिरामीहरू जाने ठाउँमा यस्तो समस्या झन् धेरै हुने गरेको छ । टिममा डाक्टर र नर्सिङ स्टाफहरू हुन्छ, तर केही गल्ती भो भने डाक्टरमाथि आरोप लगाइन्छ, स्मार्टफोनको जथाभावी प्रयोगले सेवा प्रवाहमा जोखिमहरू निम्त्याइरहेको छ ।’
स्वास्थ्यकर्मीले अनावश्यक रूपमा मोबाइलफोन बढी चलाउँदा निम्तिने जोखिमहरूका बारेमा नेपालमा अध्ययन भने भएका छैनन् । विभिन्न मुलुकमा यस्ता अध्ययन भइरहेका छन् । ‘स्मार्टफोन’ प्रयोगसम्बन्धी इन्टरनेटमा प्राप्त २ सय ७४ अंग्रेजीभाषी आलेखहरू समीक्षा गरेर जर्नलमा प्रकाशित ‘बिरामी हेरचाह सुधार गर्न नर्सहरूले स्मार्टफोन प्रयोगको प्रभावको समीक्षा’ ले विकृतिलाई उजागर गरेको छ । फोनको प्रयोगले बिरामीको स्वास्थ्य सुरक्षा सुधारिएको, स्वास्थ्य सेवा प्रदायकहरूबीच प्रभावकारी सञ्चार र राम्रो समय–व्यवस्थापन जस्ता फाइदाहरू भए पनि नर्सहरूको काममा विचलन र अव्यावसायिकता निम्तिएको जर्नलमा उल्लेख छ । यसकारण सम्भावित स्वास्थ्य जोखिमहरू कम गर्न मोबाइलफोनको उचित प्रयोगका लागि शिक्षा दिन तथा सचेत गराउन आवश्यक रहेको उक्त आलेखले सिफारिस गरेको छ ।
बिरामीको उपचार गर्दागर्दै पनि केही ठाउँमा स्वास्थ्यकर्मीहरूको टिकटक भिडियो बनाउने ध्याउन्न देखिन्छन् । ‘मेडिकल पर्सन’ नामको टिकटक खाता भएका एक स्वास्थ्यकर्मीले गत असोज २५ मा यस्तै भिडियो पोस्ट गरेका छन् । क्याप्सनमा छ, ‘हामीहरू त हस्पिटलतिर बिजी छम् हजुरहरू कता हुनुहुन्छ ।’ एक हिन्दी गीतमा टिकटक भिडियो बनाएका उनले रमाइलो गर्दै सुरुमा नाच्छन्, अनि मात्रै बेडमा भएका बिरामीको स्लाइनको अवस्था हेर्छन् । बायोमा गौतम एसके, हेल्थ असिस्टेन्ट उल्लेख गरेका उनका अरू पोस्टहरू नियाल्दा उनी सिद्धार्थनगर सिटी अस्पताल भैरहवामा कार्यरत रहेको अनुमान गर्न सकिन्छ । टिकटकमा पोस्ट भएको उनको अघिल्लो एक भिडियो पनि बिरामीकै छ । बेडमा रहेका वृद्ध बिरामीको स्वास्थ्य जाँच गरिरहेको देखिन्छ । यसमा बिरामीको अनुहार पनि स्पष्ट देखिन्छ । यसैगरी रविता आर्या नामको अर्को टिकटक खाता भएकी युवतीले ‘पीडा के हो भनेर नर्सिङ स्टुडेन्टलाई सोध...’ भन्ने आवाजमा सिरिन्जमा औषधि भर्दै गरेकोजस्तो देखिन्छ, त्यस्तै नवजात शिशुहरू बेडमा पल्टिरहेको देखिन्छन् । आर्या स्वास्थ्यकर्मी हुन् या मेडिकल विद्यार्थी हुन् बायोमा उल्लेख छैन । उनले टिकटक पोस्टको ट्यागमा भने नर्सलाइफ मेन्सन गरेकी छन् । यसबाट स्वास्थ्यकर्मीहरू बिरामीको हेरचाहमा भन्दा पनि टिकटकमा बढी केन्द्रित देखिन्छ । साथै उनीहरूले बिरामीको पहिचानलाई सामाजिक सञ्जालहरूमा सार्वजनिक गरेर व्यक्तिको गोपनीयताको अधिकार हनन गरिरहेका छन् ।
यस्ता गतिविधिले स्वास्थ्य सेवाप्रति अविश्वास बढिरहेको र समयमा सम्बोधन नगरिए संकट ल्याउन सक्ने जनस्वास्थ्यविद् डा. रीता थापाको भनाइ छ । ‘कर्मचारीले रोगीहरूसँग कसरी व्यवहार गर्ने, यो सबै मेडिकल कलेजमा सिकाइने कुरा हो, अहिले वडा–वडामा मेडिकल कलेज चलाएपछि, व्यापारीकरणमा लागेपछि शैक्षिक प्रणाली भत्कियो, नैतिकता हराउँदै गयो, अस्पतालमा स्वास्थ्यकर्मी पिटियो भन्ने घटना आउँछन्
नि ∕ यस्तै कारणले हो,’ उनले भनिन्, ‘कर्मचारी जतिबेलै मोबाइल हेरेर बस्ने, व्यक्ति विशेषलाई दोष दिने कुरा होइन यो । दिनको तीन–चार घण्टा बढी मोबाइल चलायो भने मानसिक समस्या ल्याउँछ, युवा नर्सेस जनशक्ति त्यही संस्कृतिमा हुर्किरहनुभएकाले सतर्कता अपनाइएन भने दुर्घटनाहरू निम्त्याउन सक्छन् ।’ स्वास्थ्य सेवामा व्यापारीकरण रोक्नलाई राज्य संरचना बलियो हुनुपर्ने र स्वास्थ्यकर्मीले पेसा अपनाइसकेपछि प्रतिबद्ध भएर जिम्मेवारी वहन गर्नुपर्ने उनी बताउँछिन् ।
यसबारे नेपाल मेडिकल काउन्सिलले गम्भीर विषय भएकाले ध्यानाकर्षण हुने बताए पनि अनुगमन र निगरानीमा नेपाल नर्सिङ परिषद् जिम्मेवार हुनुपर्ने जनाएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला भन्छन्, ‘मोबाइलफोनको सदुपयोग र दुरुपयोगको सन्दर्भमा कानुन त नर्सिङको सबाल भएकाले नर्सिङ काउन्सिलले हेर्ने हो, तर चिकित्सक र नर्सिङ टिममा भएर काम गर्ने भएकाले हामी चिकित्सकहरूको पनि चासोको विषय हो ।’
नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार शकुन्तला प्रजापतिले यसबारे आचारसंहिता तय गरेको बताए पनि कार्यान्वयनका विषयमा अनभिज्ञता देखाइन् । ‘नर्सिङ स्टाफहरूले कार्यालय समयमा मोबाइल फोन चलाएको, लाइभमा आएको भन्ने गुनासोहरू आएपछि काउन्सिलको इथिकल कमिटीले कार्यालय प्रयोजनबाहेक अन्य उद्देश्यका लागि मोबाइल फोन प्रयोग गर्न पाइँदैन भनेर निर्णय गरेको छ,’ उनले भनिन्, ‘अस्पतालहरूसम्म यो निर्णय पुग्यो पुगेन म यकिन छैन, म रजिस्ट्रार हो, हाम्रो अध्यक्ष बाहिर हुनुहुन्छ त्यही भएर कार्यान्वयन कहाँ पुग्यो भन्ने थाहा नभएको हो, यो विषयमा हामी सचेत छौं ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले भने यस्ता विषयमा मन्त्रालयले सिधै सम्बन्ध नराख्ने भएकाले सम्बन्धित काउन्सिलहरू जिम्मेवार हुनुपर्ने बताए ।

समाचार

प्रश्नको घेरामा उम्मेदवार

- गंगा बीसी,देवनारायण साह

(विराटनगर) - मोरङ–४ का माओवादी उम्मेदवार अमनलाल मोदी विराटनगर–३ शंकरपुरमा मतदाताको प्रश्नको उत्तर दिइरहेको अवस्थामा बिहीबार भेटिए । स्थानीय शिक्षक अरुणकुमार कर्णले संसद्मा यसअघि त्यही क्षेत्रबाट निर्वाचित मोदीलाई चिया पसलमा भएको जम्काभेटमा प्रश्न गरे, ‘यो पाँच वर्ष तपाईंसँग हाम्रो भेट भएन, बोलाएका बेला पनि आउनुभएन । यो क्षेत्रमा विकासका काम कति गर्नुभयो ? अब हामीलाई जवाफ दिनुपर्छ ।’ यति मात्र होइन उनले संसद्मा प्रस्तुत भएको विषय पनि उठाए, ‘तपाईंले संसद्मा कतिपय विषयमा खेलेको भूमिका पनि हामीलाई चित्त बुझेको छैन ।’
उनको प्रश्न सुनेपछि मोदी शान्त देखिए । केही क्षण सोचेर उनले भने, ‘गएको पाँच वर्ष सबै मतदाताकहाँ आउन सकिनँ तर क्षमा दिँदै फेरि पनि मत दिनुहुने विश्वास गरेको छु ।’ स्थानीय क्याम्पसका विज्ञान शिक्षक कर्णले थप प्र्रश्न नगरी शुभकामना दिए । हरेक दिन मतदाताका यस्तै प्रश्न सामना गरिरहेको मोदीले सुनाए ।
कर्णसँगै अरू उम्मेदवारसँग पनि मौका पाउनासाथ यस्तै प्रश्न गरिरहेका थिए । कांग्रेस महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाका प्रतिस्पर्धी, मोरङ–६ का उम्मेदवार शेखर कोइरालाले पनि एक महिनायता मतदाताका यस्तै प्रश्नको सामना गरिरहेका छन् । ०७४ मा एमालेका लालबाबु पण्डितसँग पराजित भएका उनले यस पटक पनि उनीसँगै प्रतिस्पर्धा गर्दै छन् । यस पटक कोइरालाभन्दा बढी प्रश्नको सामना पण्डितले गर्नुपरेको छ । मतदातासँग राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा ठूला प्रश्न छैनन् । ‘यो पाँच वर्षमा हाम्रा दुःख किन घटेनन् ? पाँच वर्ष कहाँ हराउनुभयो ? शिक्षा, स्वास्थ्य, विकासका वाचा कता हराए ?’ मतदाताका साझाजस्तै प्र्रश्न छन् ।
मतदाताले प्रश्न गर्नु स्वाभाविक भएको कोइरालाको भनाइ छ । ‘मतदाताको प्रश्नदेखि डराउने होइन, हामीले चित्तबुझ्दो उत्तर दिने कोसिस गर्नुपर्छ, जितेर गइसकेपछि पूरा गर्न सक्नुपर्छ,’ विराटनगर–११ पिचराचोकमा उनले कान्तिपुरसँग भने, ‘जनताले विकास, विकास, विकास भनिरहेका छन् । मुख्य चासो र प्र्रश्न पनि यही छ ।’ मतदाताका यस्ता प्रश्नको चित्तबुझ्दो उत्तर दिन संघ र प्रदेशका उम्मेदवारलाई हम्मे परिरहेको छ । ‘मतदाता विगतमा भन्दा बढी बुझ्ने छन्, हामीले यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ मोदीको भनाइ छ, ‘पाँच वर्षपछि तिमी कुन मुख लिएर आयौ ? भनेर सोध्दा अलि अप्ठ्यारोचाहिँ हुँदोरहेछ ।’
मोरङ–१ का एमाले उम्मेदवार एवं निवर्तमान सांसद घनश्याम खतिवडाको बुझाइमा मतदाताले प्रश्नसँगै आशा राखेका छन् । ‘उहाँहरूले अलि बढी गाउँ आइदिनुपर्‍यो भन्नुभएको छ, जनताका धेरै प्रश्न र सँगसँगै आशा अपेक्षा पनि राखेको पाएको छु,’ उनले भने ।
मोरङ–३ मा राप्रपाकी उम्मेदवार अभिनेत्री रेखा थापाले पनि तीन दशकदेखि जित्दै आएका दलमाथि प्रश्न उठाएर मत मागिरहेकी छन् । ‘तीन दशकदेखि पुराना दलले राजनीतिलाई व्यापार गर्ने माध्यम बनाए, युवालाई विदेशिन बाध्य बनाए, महँगो अस्पतालमा उपचार र महँगो निजी स्कुलमा पढ्न बाध्य बनाए,’ उनले कान्तिपुरसँग भनिन्, ‘मेरो राजनीतिक लडाइँ पुरानाविरुद्ध नयाँ मात्र होइन, जिल्लाको समग्र विकासका लागि हो ।’ उनले गठबन्धनका सुनील शर्मा र एमालेका भानुभक्त ढकालसँग प्रतिस्पर्धा गर्दै छिन् ।
सत्ता गठबन्धन र एमालेका उम्मेदवारले मतदाताको प्रश्न छल्ने कोसिस गरिरहेको अधिवक्ता सञ्जु साहको बुझाइ छ । ‘उम्मेदवारहरू मतदातासँग नजिकको सरोकार नभएका विषयमा जटिल भाषण गर्छन्, मतदातालाई त्यसले खासै छोएको छैन,’ उनले भनिन्, ‘उनीहरूलाई त रोजगार, राम्रो सामुदायिक विद्यालय र अस्पताल चाहिएको छ । विगतमा गरेका वाचा कति पूरा भए भन्ने लेखाजोखा चाहिएको छ ।’
मतदाता भने घरदैलोमा आउने उम्मेदवारलाई सीधा प्रश्न गर्ने र चित्तबुझ्दो जवाफ खोज्ने तयारीमा छन् । मोरङको ग्रामथान गाउँपालिका–२ खुनियाखट्टाका तीन पुस्ता मतदाता (हजुरबुबा, छोरा र नाति) को फरक–फरक चुनावी सरोकार छ । विराटनगर–विराटचोक मार्गछेउमा ऐलानी जग्गामा बस्दै आएका ७० वर्षीय बेचन माझीेले पञ्चायती व्यवस्थादेखि नै मतदान गर्दै आएका छन् । राम्रो सडकछेउमै घर भए पनि आफू बस्ने जमिनको उनीसँग लालपुर्जा छैन । ‘चुनावका बेला लालपुर्जा दिन्छौं भने, अहिलेसम्म दिएका छैनन्,’ उनले भने । जीवनको उत्तरार्द्धमा नम्बरी जग्गामा बस्ने उनको धोको छ । खुनियाखट्टामा मात्र करिब ५ सय परिवार भूमिहीन रहेको उनका छोरा ४४ वर्षीय श्रीप्रसाद माझीले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० मा गाउँपालिकाले भूमिहीन, सुकुम्बासीसम्बन्धी कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेको छ । श्रीप्रसादसँग राम्रो स्वास्थ्य उपचार, छोरोछोरीलाई शिक्षा, रोजगारसम्बन्धी प्रश्न छन् । ‘ठूला दलका उम्मेदवार सबै विकास आफैंले गरेको भन्छन्, मत माग्छन्, यस पटक हाम्रो चित्त बुझाउने उम्मेदवारलाई मत दिन्छौं,’ उनले भने । श्रीप्रसादका २२ वर्षीय छोरा अभिषेकले लोक सेवा आयोगको तयारी गरिरहेका छन् । पहिलो चरणको परीक्षा पास गरेका उनलाई सबैभन्दा बढी चासो रोजगारीको छ । हजुरबुबा, बुबातिर देखाउँदै उनले भने, ‘उहाँहरूले धेरै दुःख पाउनुभयो, त्यही दुःख हामीले पाउनुपर्ने अवस्था ठीक होइन,’ उनले भने, ‘हामीलाई रोजगारी चाहियो नि ।’ टेलिभिजन र सामाजिक सञ्जालमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हेरेका उनलाई त्यसको प्रभाव परेको रहेछ । ‘केजरीवालले जे भन्छन्, त्यही गर्छन्, हाम्रा नेताले धेरै बोल्छन्, थोरै काम गर्छन्,’ उनले थपे ।
ग्रामथान नेताचोकमा विद्युतीय रिक्सा चलाएर गुजारा गर्ने एक हूल चालकले निर्वाचनसम्बन्धी गफ चासो मानेर सुनिरहेका थिए । उनीहरूको सरोकारमध्ये एउटा थियो– भित्री सडक कच्ची भएका कारण यात्रु ल्याउन लैजान कठिन भएको । रिक्सा मालिकहरूले ‘राम्रो’ उम्मेदवारलाई मतदान गर्ने बताए । ‘हामी मतको मालिक हो, जसलाई मन लाग्यो, उसलाई दिने हो,’ ५६ वर्षीय विप्ता साहले भने । पवनकुमार साह, राजु र लालवीर सरकारले पनि सकेसम्म गाउँको काम गर्नेलाई छान्ने बताए ।
कान्तिपुरसँगको कुराकानीमा अधिकांश युवा मतदाताले नयाँ उम्मेदवार खोजेको पाइयो । उनीहरूले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङको नाम लिए । उनीहरूमध्ये धेरैको मत छ, पुरानाले काम गरेनन् वा नयाँलाई बाटो पनि छाडेनन् । हुन पनि मोरङमा प्रमुख दलका उम्मेदवारहरू कुनै न कुनै निर्वाचन लडिसकेका छन् ।
विराटनगर सिटी कलेजमा पढिरहेकी प्राप्ति लुइँटेलले आफ्नो छनोट युवा हुने सुनाइन् । ‘बालेन शाहजस्तो युवा उम्मेदवार हुनुपर्छ, यहाँ युवालाई खोजेर मत हाल्छु,’ मोरङ–३ मा पहिलो पटक मतदान गर्ने तयारी गरेकी उनले भनिन् ।
एमाले मोरङका निर्वाचन परिचालन कमिटी संयोजक बाबुराम कार्कीले मतदाताले नयाँ उम्मेदवार खोजी गरेको आफूले पाएको बताए । ‘नयाँ उम्मेदवारको पक्कै पनि खोजी छ तर जितेर गइसकेपछि काम गर्न सक्छन् कि सक्दैनन् भन्ने पनि मतदाताको प्रश्न छ,’ उनले भने । गैरसरकारी संस्थाको क्षेत्रमा काम गरिरहेका उमेश विश्वकर्माले राजनीतिक दलका मुद्दाले मतदातालाई खासै नछोएको बताए ।
मोरङ–१ का एमाले उम्मेदवार घनश्याम खतिवडा र कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बू प्रतिस्पर्धामा छन् । ०७४ मा खतिवडाले लिम्बूलाई हराएका थिए । उर्लाबारी र लेटाङ नगरपालिका, केराबारी र मिक्लाजुङ गाउँपालिका समेटिएको क्षेत्र १ मा ३७ वटा वडाका १ लाख २३ हजार ६१५ मतदाता छन् । स्थानीय तह निर्वाचनमा एमालेले १९, कांग्रेसले १५ र माओवादीले ३ वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतमा एमालेको ३३ हजार ५६, जसपाको ४९३, कांग्रेसको ३१ हजार ५४३, माओवादीले ५ हजार ८१९ र एकीकृत समाजवादीको १ हजार ७५ छ । यहाँ १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मोरङ–२ मा सुनवर्षी, रतुवामाई नगरपालिका, रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिचरे नगरपालिकाको वडा ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा १, २ र ३ समेटिएको छ । स्थानीय तहका २९ वटा वडामा १ लाख २४ हजार ७२९ मतदाता छन् । एमालेले १६, कांग्रेसले ११ र माओवादीले २ वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारले पाएको आधारमा एमाले ३१ हजार ३३७, कांग्रेस २८ हजार ६१७, माओवादी ७ हजार ३०१, जसपा ४ हजार ५१०, लोसपा ४९० र एकीकृत समाजवादीको १८० मत छ । यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी सुजाता कोइराला र एमाले गठबन्धनबाट जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, राप्रपाका गोपाल दाहाललगायत १३ जना चुनावी प्रतिस्पर्धामा छन् ।
मोरङ–३ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका सुनील शर्मा, एमालेका निवर्तमान सांसद भानुभक्त ढकाल, राप्रपाकी रेखा थापासहित १५ जना चुनावी मैदानमा छन् । पथरीशनिश्चरे नगरपालिकाको १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७, बेलबारी नगरपालिकाको १, २, ३, ४, ८, ९, १० र ११ र सुन्दरहरैंचा नगरपालिकाको १, ८, ९, १०, ११ र १२ गरी कुल २६ वटा वडामा कुल १ लाख ४९ हजार ८३३ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले ११, एमालेले १४ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका छन् । स्थानीय तहमा वडाध्यक्ष उम्मेदवारहरूले प्राप्त गरेको आधारमा कांग्रेसको ३६ हजार ९७९, माओवादीको ७ हजार ३७३, एकीकृत समाजवादीको १ हजार ८५५, एमालेको ३७ हजार ४१०, जसपाले ३८३ र राप्रपाको २ हजार २२२ मत छ ।
मोरङ–४ मा सत्तारूढ गठबन्धनबाट माओवादीका निवर्तमान सांसद अमनलाल मोदी, एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, राप्रपाका रवि रिजाललगायत १७ जना प्रतिस्पर्धामा छन् । १ लाख १० हजार ९३ मतदाता रहेको यस क्षेत्रमा विराटनगर महानगरको १, २, ३, ८, १० र १९, बेलबारीको ५, ६ र ७ नम्बर वडा र ग्रामथान र कटहरी गाउँपालिकाको २३ वटा वडा समेटिएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले ३, माओवादीले १, एमालेले १८ र जसपाले १ वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारहरूले पाएको आधारमा कांग्रेसको २० हजार ५५२, माओवादीको ९ हजार ६३०, एकीकृत समाजवादीको १ हजार १८५, लोसपाको १४३, एमालेको २५ हजार ५० र जसपाको ३ हजार ३६५ मत छ ।
मोरङ–५ मा सत्तारूढ गठबन्धनबाट माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डल, जसपाका राजकुमार यादव, राप्रपाका रेवतबहादुर थापा, एमालेकै बागी योगेन्द्र मण्डलसहित १६ जना मैदानमा छन् । १ लाख ४९४ मतदाता रहेको यो क्षेत्रमा विराटनगर महानगरको वडा १३, १४, १५, १६, १७ र १८, रंगेली नगरपालिकाको वडा ४, ५, ६ र ७ र धनपालथान र जहदा गाउँपालिका गरी २४ वटा वडा छन् । गत स्थानीय निर्वाचनमा कांग्रेसले १३, एमालेले १० र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् । वडाध्यक्षहरूले प्राप्त गरेको आधारमा कांग्रेसले १९ हजार ४९८, एमालेले १५ हजार ६८०, माओवादीले ११ हजार २१६, एकीकृत समाजवादीले ६०८, जसपाले ९४९१ र लोसपाले ८० मत छ ।
मोरङ–६ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका नेता शेखर कोइराला, एमालेका निवर्तमान सांसद लालबाबु पण्डित, राप्रपाका गोपाल क्षत्रीसहित १६ जना उम्मेदवार छन् । सुन्दरहरैंचा नगरपालिकाको वडा २, ३, ४, ५, ६ र ७, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४, ५, ६, ७, ८, ९, ११ र १२ गरी २० वटा वडा समेटिएको यो क्षेत्रमा १ लाख २६ हजार ७६१ मतदाता छन् । २० वडामध्ये कांग्रेसले ११, माओवादीले २, एमालेले ५, जसपा र स्वतन्त्रले १/१ वटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको आधारमा कांग्रेसको २८ हजार ४२८, एमालेको २५ हजार २३६, माओवादीको ५ हजार ३५६, जसपाको ३ हजार ७३५, एकीकृत समाजवादीको २ हजार ३५० र लोसपाको १ हजार १०९ मत छ ।

Page 3
समाचार

रतुवा पुल सधैं एजेन्डा

- पर्वत पोर्तेल

(रतुवामाई, मोरङ) - रतुवा खोलापारि झापामा एउटा पार्टीको सर्वोच्च नेतृत्व र वारि मोरङमा अर्को पार्टीमा बिरादरी दाबी गर्ने नेता । यी दुई जिल्लाका दुई नेताको चुनावी रस्साकस्सीबीच हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल भने डेढ दशकयता बेवारिस छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र झापा–५ र मोरङ–२ सीमाको यो पुल नबन्दा स्थानीयले दुःख भोग्दै आएका छन् । झापाको गौरीगन्ज र मोरङको आमवारीका बीचमा पर्ने यो पुल हरेक ५ वर्षमा उम्मेदवारहरूको चुनावी एजेन्डा बन्ने गरेको छ तर काम पूरा भने भएको छैन ।
पुल बन्न सुरु भएयता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट लगातार जितिरहेका छन् । मोरङ–२ मा कांग्रेस नेता मिनेन्द्र रिजालले ०७४ को चुनाव जितेका थिए । त्यसअघि एमालेका ऋषिकेश पोखरेल (२०७०) र कांग्रेसका आमोदप्रसाद उपाध्याय (२०६४) सांसद बने । जितेर गएपछि कसैले पनि पूल निर्माण पूरा गर्न पहल नगरेको स्थानीयको आरोप छ । एमाले नेता पोखरेल यसपालि पुनः उम्मेदवार छन् । कांग्रेसले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लड्दै आएको यस क्षेत्रमा यसपटक उनकै छोरी सुजातालाई टिकट दिएको छ ।
रतुवाको पुललाई मुद्दा बनाएर स्थानीय तहको निर्वाचन जितेका रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह काम पूरा नहुनुमा ‘राजनीतिक चलखेल’ रहेको बताउछन् । आम निर्वाचनका क्रममा पुल पूरा गर्ने बाचा गर्दै पुल वारिपारिको क्षेत्रमा उम्मेदवारहरूको आउजाउ फेरि बाक्लिएको छ । तर, नेताहरूप्रति स्थानीय विश्वस्त देखिँदैनन् । ‘५ वर्षअघि पनि कांग्रेस नेता मिनेन्द्र रिजालले पुल बनाइदिहाल्छु भनेका थिए,’ स्थानीय कलावती यादवले सुनाइन्, ‘नेताहरू बोल्ने मात्रै रैछन् ।’
दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–६ चिल्लारा र मोरङको दक्षिण पूर्वी रतुवामाई नगरपालिका–३ आमबारी जोड्न बन्दाबन्दै छाडिएको पुलको तल्लो भागबाट बाँसको फड्के बनाइएको छ । ‘बर्खाका ६ महिना नदी वारपारका लागि डुंगा चल्छ’, स्थानीय बच्चुलाल सिंहले भने, ‘हिउँदमा बाँसको फड्केबाट तर्छौं ।’ बर्खामा डुंगा चढ्दा होस् या हिउँदमा फड्के तर्दा स्थानीयले कर बुझाउँछन् । सिंहका अनुसार फड्के तरे वापत मोटरसाइकलले एक सय रुपैयाँ, साइकलले ५० रुपैयाँ र व्यक्तिले १० रुपैयाँ तिर्नुपर्छ । पुलमुनी फड्के राख्न ठेक्का लिने विषयमा केही समयअघि वारिपारिका स्थानीय सरकारबीच विवाद नै भयो । अन्ततः यो वर्ष गौरीगन्जका व्यवसायीले फड्के सञ्चालनको ठेक्का पाएका छन् । गौरीगन्ज–६ का धीरजकुमार मान्झीले एमाले अध्यक्ष ओलीले पटकपटक पुलको एजेन्डा बनाएर भोट माग्न आउने र जिते पछि बिर्सिने गरेको आरोप लगाए । स्थानीय सञ्जय राजवंशीले २२ तले भ्यु टावर ठडिन समय नलागे पनि वर्षौंदेखि एउटा पुल पूरा हुन नसक्नुमा नेताहरूले बेवास्ता गरेको आरोप लगाए ।
मोरङको धनपाल ६ का मोहम्मद हुसेनले झापाको गौरीगन्जस्थित ससुराली जाँदा हिउँदमा फड्के र बर्खामा डुंगाबाट रतुवा खोला तर्नुपरिरहेको सुनाए । साइकलबाट बाँसको फड्के तरिरहेका बेला भेटिएका उनले भने, ‘१५ वर्षदेखि पुल अधुरै छ, पुलबाट कहिले हिँड्न पाइएला भन्ने भइसक्यो ।’ मधेसी समुदायको बसोबास रहेकाले राज्यले यस क्षेत्रको पुल निर्माणमा चासो नदिएको स्थानीय बच्चुलाल सिंहको आरोप छ । पुलसँगै आमबारीबाट रतुवा खोलासम्मको करिब दुई किलोमिटर बाटो बन्न सके गाउँकै मुहार फेरिने उनी बताउँछन् । उनका अनुसार अहिले झुर्कियाबाट करिब ७ किलोमिटर घुमेर आमबारी जानुपर्ने बाध्यता छ । यस बाटोमा वर्षायाममा बर्सेनि दुर्घटना हुन्छ । ‘पार्टीसँग हाम्रो सरोकार छैन, पुल र बाटो बनाउनेलाई मात्रै अब जनताले भोट हाल्छन्’, सिंहले भने ।
गंगादेवी सिंह र कलावती यादव खोला छेउछाउ गाई वस्तु चराउन जान्छन् । उनीहरूका अनुसार हिउँदमा त खास समस्या हुन्न । तर, झरी सुरु भएपछि जोखिम बढ्छ । ‘ठूलठूला खाल्डाहरू ताल बन्छन्, तर्नै
सकिंदैन’, कलावतीले भनिन् । यहाँका बासिन्दा किनमेल र परिवार भेटघाटमा गौरीगन्ज पनि जान्छन् । पुल नहुँदा यात्रा जोखिमपूर्ण र सकसपूर्ण हुने गरेको छ ।
सडक विभागअन्तर्गतको तत्कालीन मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४/६५ मा कालिका–ओसीए जेभीलाई १० करोड ३२ लाख ९१ हजारमा ठेक्का दिएको थियो । २ सय ७५ मिटर बनाउनुपर्ने भए पनि २ सय ५ मिटर बनाएर ०७५ मा आयोजनाले ‘फाइनल’ भएको भन्दै हुलाकी सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाले रतुवा पुल निर्माण पूरा गर्नका लागि पुनः ठेक्का खोल्नुपर्ने भएकाले डिजाइन, लागतको अनुमानको काम भइरहेको बताए । करिब २० करोड लागतमा पुल निर्माण सकिने उनको अनुमान छ । ‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूको ध्यान खिचेको पुल हो यो,’ खतिवडाले भने, ‘अब चाँडै बन्ने आशा छ ।’ उक्त पुल खोलाको चौडाइभन्दा सानो बन्दा सञ्चालनमा आउन नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । आर्थिक वर्ष ०६४/६५ मा काठमाडौंको कालिका–ओसिए जेभीले निर्माण ठेक्का पाएको पुल २०५ मिटर लामो छ । १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको कम्पनीले सम्झौताअनुसार काम सम्पन्न गरे पनि पुलको लम्बाइ छोटो हुँदा पुललाई बीचमा पारेर खोला बगेको छ । ‘अब ७० मिटर थपिँदै छ,’ खतिवडाले भने, ‘मूल्यांकन प्रक्रिया सुरु भएको छ, चाँडै ठेक्का लाग्नेछ ।’

Page 4
वाग्मती प्रदेश

चितवन कांग्रेसमा चार धार

- रमेशकुमार पौडेल

(चितवन) - आगामी मंसिर ४ का लागि तोकिएको आमनिर्वाचनको औपचारिक प्रचारप्रसार सुरुवात भइसक्दा चितवन कांग्रेसभित्रको मतभेद भने सतहमा आउन थालेको छ । पार्टीका पूर्वजिल्ला सभापतिको हैसियतमा विकास कोइरालाले बुधबार दिउँसो आयोजना गरेको चियापान कार्यक्रममा उद्योग वाणिज्य संघको सभाहल नै खचाखच हुने गरेर समर्थक जुटे । जुन कार्यक्रमप्रति पार्टीको जिल्ला नेतृत्वले आपत्ति जनाएको छ ।
पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइराला २०७० को संविधानसभा निर्वाचनमा चितवन–४ बाट उम्मेदवार हुँदा बागी उठेका कारण उनी कारबाहीमा परेका थिए । २०६७ मा पार्टीको जिल्ला सभापति चुनिएका उनलाई २ वर्षपछि पार्टी केन्द्रले हटाएको थियो । २०७६ चैतमा पार्टीको जिल्ला कमिटीले उनको क्रियाशील सदस्यता नवीकरण गर्न केन्द्रलाई सिफारिस गरेको थियो । तर, सदस्यता नवीकरण नभएको आक्रोश उनले बुधबारको चियापान कार्यक्रममा पोखे । ‘नभए यो चुनावमा हिँडिँदैन । त्यत्तिकै हिँडिँदै हिँडिँदैन । समयमै कुरा नराखे, मिलेर घुर्की नलगाए मतलब हुँदो रहेनछ,’ समर्थकमाझ उनको आग्रह थियो, ‘विकास कोइरालालाई नल्याउने हो भने हामी पनि चुप लागेर बस्छौं भनेर नेतृत्वलाई भन्नुस् ।’
३ निर्वाचन क्षेत्र रहेको चितवनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र–१ र २ मा कांग्रेस र ३ मा माओवादीका उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । प्रदेशसभाका ६ क्षेत्रमध्ये ३ वटामा कांग्रेस, २ वटामा माओवादी र एउटामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चुनावी मैदानमा छन् । तर, गठबन्धनबाहिर पनि कांग्रेसका विभिन्न धार सक्रिय छन् । चितवन–३ मा गठबन्धनविरुद्ध कांग्रेस केन्द्रीय सदस्य रहेका दिनेश कोइराला, अर्का पुराना नेता जगन्नाथ पौडेल उम्मेदवार छन् । दिनेशको पक्षमा पार्टीका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालगायतका नेता उभिएका छन् । उम्मेदवारी दिने विषयमै ३ धार देखिएको चितवन कांग्रेसमा चियापान आयोजना गरेर विकासले अर्को धार ब्युँताएका छन् ।
उक्त चियापानले पार्टी संगठन र आसन्न निर्वाचनलाई समेत नकारात्मक प्रभाव पार्ने भन्दै मंगलबार साँझ पार्टी जिल्ला सभापति राजेश्वर खनालले सूचना नै निकालेर आपत्ति जनाएका थिए । सभापति खनालले चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन मात्र दिएनन्, उक्त सूचनामा पार्टीका पूर्वजिल्ला सभापति भनेर ८ जनाको मात्रै नाम उल्लेख गरे । जसमा विकास र कृष्णलालको नाम अटाएको छैन । यसका बाबजुद पनि चियापानमा युवा वर्ग र केही पुराना नेताहरूको उपस्थिति थियो । पार्टीका हालका जिल्ला सचिव ध्रुवराज पोखरेल पनि कार्यक्रममा पुगेका थिए ।
सभापति खनालको निर्देशनात्मक सूचनाप्रति कांग्रेस कार्यकर्ता र पदाधिकारीले नै असन्तुष्टि पोखिरहेका छन् । सचिव पोखरेलले मंगलबार विज्ञप्ति निकालेर नेतृत्वले सुझबुझपूर्ण ढंगले सबै पक्षको सम्मान गर्न नसकेको आरोप नै लगाए । उपसभापति शालिग्राम शर्मा पौडेलले फेसबुकमा ‘१५ गतेको विज्ञप्तिउपर समीक्षा गरौं, सुधार गरौं’ लेखेका छन् ।
विकास २०६७ मा भएको पार्टीको १२ औं अधिवेशनबाट जिल्ला सभापति चुनिएका थिए । उनको कार्यकालमै नेपाल तरुण दलका तत्कालीन जिल्ला सभापति शिव पौडेलमाथि भरतपुर कारागारभित्रै आक्रमण भयो र उनको मृत्यु पनि भयो । पौडेलको संरक्षण गर्न नसकेको भन्दै विकासको आलोचना हुन थाल्यो । विवाद बढ्दै गएपछि पार्टी केन्द्रले उनलाई सभापतिबाट हटायो । त्यसबेला उनी सभापति भएको २ वर्ष पनि भएको थिएन । पार्टी केन्द्रले जिल्लामा नयाँ नेतृत्व चुन्न निर्वाचन गराउँदा उनी पनि उठेका थिए तर पराजित भए । २०७० को संविधानसभा निर्वाचनमा चितवन–४ मा उनले टिकट पाउने चर्चा थियो । तर, पार्टी केन्द्रीय सभापति उम्मेदवार भए । उक्त निर्णयको विरोधमा उनी बागी उठे । त्यसपछि कारबाहीमा परेका हुन् ।
‘२०७६ चैतमा जिल्ला कमिटीले विकास कोइरालाको क्रियाशील सदस्यता नवीकरण गर्न केन्द्रीय समितिमा सिफारिस गरेको तथ्यलाई नजरअन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरताको अवमूल्यन ठहर्छ,’ सचिव पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । दोहोरो मापदण्ड नअपनाउन पोखरेलले नेतृत्वलाई सजग गराएका छन् ।
त्यसैगरी, पार्टीका अर्का पूर्वजिल्ला सभापति सापकोटा २०४६ अघिदेखि नै नेतृत्वमा रहेका व्यक्ति हुन् । प्रजातन्त्र आएपछि पनि कांग्रेसको जिल्ला सभापति भए । तर, गत स्थानीय निर्वाचनमा भरतपुर महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेलको प्रस्तावक बसेपछि सापकोटालाई पार्टीले कारबाही गरेको छ ।
पार्टीका पूर्व या वर्तमान पदाधिकारीले आफ्नो पदीय हैसियतमा कार्यक्रम आयोजना गर्दा पार्टीसँग समन्वय गर्नुपर्ने बताउँछन्, जिल्ला उपसभापति पौडेल । कोइरालाले त्यस्तो कुनै पनि समन्वय नगरेको हुँदा पार्टीको ध्यानाकर्षण भएको उनको भनाइ छ । ‘तर पूर्वपदाधिकारीहरूको नाम सूचनामा नरहेको विषय प्राविधिक त्रुटि हुन सक्छ, यो सच्याउनुपर्छ र सचिन्छ,’ उनले भने ।
२०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गरेर पार्टी केन्द्रले भरतपुर महानगर प्रमुखबाट कांग्रेस उम्मेदवारको नाम फिर्ता लिएपछि नै चितवन कांग्रेसभित्र मतान्तर सुरु भएको हो । गत स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी तालमेल भएसँगै उक्त विवाद फेरि सतहमा आयो । अहिले संसदीय निर्वाचनमा पनि विवाद थामिने अवस्था देखिएको छैन ।

Page 5
अर्थ वाणिज्य

आयात प्रतिबन्धले बन्द हुन थाले सवारीसाधनका सोरुम

- विमल खतिवडा

(काठमाडौं) - सरकारले आयातमा प्रतिबन्ध लगाएसँगै सवारीसाधन नपाइँदा देशभर विभिन्न सवारीका सोरुम बन्द हुन थालेका छन् । विदेशी विनिमय सञ्चिति कम भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गर्दै १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेपछि सवारी आयात हुन सकेको छैन । जसले गर्दा अहिले देशभर दुई र चारपांग्रे कम्पनीका ५८ सोरुम बन्द भएका छन् । थप ९५ वटा सोरुम बन्द हुने स्थितिमा पुगेको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
देशभर विभिन्न सवारीका १ हजार २५ सोरुम छन् । नाडाको तथ्यांकअनुसार प्रदेश १ मा ९, मधेसमा ११, वाग्मतीमा १८, गण्डकीमा ७, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३ वटा सोरुम बन्द भएका छन् । यससँगै ती सोरुममा कार्यरत कर्मचारी बेरोजगार बनेका छन् । सञ्चालनमा रहेका सोरुमले पनि कर्मचारीलाई बेतलबी बिदामा घर पठाउन थालेका छन् । आफ्नो कम्पनीमा कार्यरत ३० प्रतिशत कर्मचारी कटौती गरिएको नाडाका अध्यक्ष ध्रुव थापा नै बताउँछन् ।
‘सोरुममा गाडी छैनन्, कर्मचारीलाई दिन तलब र बैंकको ब्याज तिर्न आम्दानी छैन,’ थापाले भने, ‘मेरो कम्पनीमा १ सय ३५ जना कामदार रोजगार थिए, विकल्प नभएपछि ४० जनालाई बाध्य भएर बेतलबी बिदामा राखिएको छ ।’ बन्द हुने अवस्थामा पुगेका ९५ वटा सोरुममा कर्मचारी कटौती गरिएको छ, तिनलाई सुरक्षा गार्डको भरमा छाडिएको नाडाको डिलर समन्वय समिति उपाध्यक्ष सन्तोष खतिवडाले जनाए ।
सबैभन्दा बढी वाग्मतीमा ३२ वटा सोरुम बन्द हुने अबस्थामा छन् । प्रदेश १ मा १८, मधेसमा १३, गण्डकीमा ८, लुम्बिनीमा १३, कर्णाली ७ र सुदूरपश्चिम प्रदेशमा ४ वटा सोरुम बन्द हुने अवस्थामा छन् । अटोमोबाइल्स क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यस क्षेत्रमा करिब १ लाख प्रत्यक्ष रोजगार छन् । बन्द भएका र चलिरहेका सोरुमले कर्मचारी कटौती गर्दा करिब ८ हजारको रोजगारी गुमेको अध्यक्ष थापाको भनाइ छ । सोरुम बन्द हुँदा १ अर्ब रुपैयाँ घाटा भएको नाडाले जनाएको छ ।
विद्युत्यी सवारीका बाहेक प्रायः सबै सोरुमले कामदार घटाएका छन् । ‘सोरुम भएर मात्र भएन, त्यसका लागि गाडी चाहियो, त्यही नभएपछि सोरुम चलाउन सक्ने अवस्था छैन,’ थापाले भने, ‘मौज्दात सवारी सकिइसकेका छन् । आयात प्रतिबन्ध लम्ब्याइरहँदा यो व्यवसाय नै संकटमा पर्दै गएको छ ।’ नेपालमा वार्षिक १६ खर्ब रुपैयाँका विभिन्न सामान आयात हुन्छन् । त्यसमा १८ अर्ब रुपैयाँ हाराहारीका कार, जिप, भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात हुन्छन् । ‘त्यसैले यसको आयात खोल्दा विदेशी विनिमय सञ्चितिमा खासै ठूलो असर पर्दैन,’ उनले भने, ‘कुल राजस्वमा अटोमोबाइल क्षेत्रको योगदान ९ प्रतिशत छ । प्रतिबन्धले सरकारलाई उल्टै घाटा भइरहेको छ ।’
सरकारले दोस्रो पटक गत असार ३१ मा राजपत्रमा सूचना प्रकाशन गर्दै पुनः उक्त वस्तुहरूको आयातमा भदौ १४ सम्म बन्देज लगाएको थियो । जसमध्ये ४ वस्तुको आयातमा पुनः असोज २८ सम्म रोक लगाइएको भए पनि त्यो समय बढाएर मंसिर मसान्तसम्म पुर्‍याइएको छ । अहिलेसम्म जीप, कार, भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध कायमै छ ।
‘सोरुम बन्द हुनुको कारण आयात प्रतिबन्ध मात्र होइन, बैंकको ब्याजदर अस्वाभाविक रूपमा बढ्नु पनि हो,’ डिलर समन्वय समिति उपाध्यक्ष सन्तोष खतिवडाले भने, ‘जसले गर्दा व्यवसाय चलाउन समस्या भएपछि सोरुम बन्द गरिएको हो ।’ विदेशी विनिमय सञ्चितिमा कमी आएपछि राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले पनि सवारीसाधन आयातमा कमी आएको नाडाले जनाएको छ । ‘सटरै लगाएर हिँडिसकेका छैनौं । तर काम केही छैन । गाडी छैनन्, ग्राहक आउँदैनन,’ उनले भने, ‘बन्द भए सरह नै हो ।’
एउटा सोरुम खोल्न कम्तीमा एक करोड रुपैयाँ खर्च हुने अध्यक्ष थापाको भनाइ छ । ‘६ महिनादेखिको आयात प्रतिबन्धले अटोमोबाइल क्षेत्रमा अपूरणीय क्षति भएको छ,’ थापाले भने, ‘प्रतिबन्ध खुला गरे पनि पहिलाकै अवस्थामा आउन डेढ वर्ष लाग्छ ।’

अर्थ वाणिज्य

‘जसरी हुन्छ ब्याजदर घटाइदेऊ’

- राजु चौधरी

(काठमाडौं) - चर्को ब्याजदरको पीडा थेग्न नसकिएको भन्दै उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उच्चतम एकल बिन्दुमा रहेको ब्याजदर अहिले दोहोरो अंकमा पुगेको छ । ब्याजदरकै कारण व्यवसाय धान्न नसकिएको उनीहरूको भनाइ छ । यसै विषयलाई लिएर शुक्रबार १३ वटा उद्योग वाणिज्य संघले एकसाथ प्रदर्शन गरे ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको अगुवाइमा माइतीघरमा मण्डलमा गरिएको प्रदर्शनमा उनीहरूले जसरी हुन्छ ब्याजदर घटाइदिन माग गरे । ‘बैंकिङ आतंक बन्द गर’, ‘ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर’, गरिखाने मर्दै छ, सरकारको राजस्व घट्दै छ’ जस्ता नारा लेखिएका पर्चा र पम्प्लेट बोकेर उनीहरूले विरोध गरे । ‘ब्याजदरका कारण साना–ठूला व्यवसायी सबैलाई समस्या भएको छ । देशभरका व्यवसायी आन्दोलित छन्,’ उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले भने, ‘ब्याजदर घटाउनुपर्ने हाम्रो सुझाव हो । तर सुनुवाइ नभएपछि बाध्य भएर सडकमा आयौं ।’
बैंकहरूले प्रिमियममा मनपरी गरेको उनीहरूको दाबी छ । विरोध कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, रामचन्द्र संघार्इंलगायतले साथ दिएका थिए । चितवन, मोरङ व्यापार संघका अध्यक्ष, वस्तुगत संघका पदाधिकारीको पनि सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताए । ब्याजदरकै विषयमा यसअघि पूर्व र पश्चिम क्षेत्रका व्यवसायी पनि आन्दोलनमा थिए । त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले समिति बनाएर ब्याजदरसम्बन्धी समस्या समाधान गर्ने आश्वासन दिएका थिए ।
बैंक वित्तीय संस्थाहरूले ब्याजदरमा आतंक सिर्जना गरेको १३ उद्योग वाणिज्य संघले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । वित्तीय क्षेत्रमा गरिएको अप्रत्याशित कदमबाट मुलुकभरका साना–ठूला उद्योगी व्यवसायी हतोत्साहित भएको दाबी पनि गरिएको छ । ‘उद्योगी व्यवसायीका लागि मात्रै होइन, अर्थतन्त्र चलायमान बनाउन पनि बैंक/वित्तीय सुविधा मानव शरीरमा रक्तसञ्चार जस्तै हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्रीबाट बैंक ब्याजदर घटाउन, तरलता अभावको समस्या समाधानलगायतका लागि उच्चस्तरीय समिति गठन भयो । तर हालसम्म सुधारका पहल नहुँदा हाम्रो धैर्य टुटेको छ ।’
अहिले देखिएको समस्या समाधान गर्न उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी ब्याजदर लिन पाइने गरी लगानीयोग्य पुँजीको व्यवस्थापन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । माग सुनुवाइ नभएपछि अहिले पुनः विभिन्न जिल्लामा व्यवसायीले आन्दोलन सुरु गरेका छन् ।

अर्थ वाणिज्य

एसियामा कहाँ–कहाँ चल्छ फाइभजी ?

- कान्तिपुर संवाददाता

(काठमाडौं) - तिहारअघि नै फाइभजीका उपकरण जडान गरेर परीक्षणलाई तीव्रता दिने बताएको नेपाल टेलिकमले अझै पनि त्यो काम सम्पन्न गर्न सकेको छैन । सुन्धारा र बबरमहलमा फाइभजी नेटवर्कको हार्डवेयर उपकरण जडान भइरहेको कम्पनीले जनाएको छ । ‘सुन्धारामा जडान सकिएर टेस्टिङको काम भइरहेको छ,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘बबरमहलमा जडान जारी छ । जडानपछि टेस्टिङ गरेर ट्रायलमा जान्छौं ।’ कतिपय सञ्चारमाध्यमले काठमाडौंमा फाइभजी परीक्षण सुरु भइसकेको जनाए पनि त्यो सत्य नभएको प्रवक्ता अधिकारीले बताए ।
‘तिहारअघि पहिलो चरणका सामान आए,’ टेलिकमको वायरलेस सेवा निर्देशनालयका प्रबन्धक सुबोध रिमालले भने, ‘अहिले इन्स्टलेसनको काम हुँदै छ ।’ फाइभजी परीक्षणका लागि अझै केही समय लाग्ने उनको भनाइ छ । प्रवक्ता अधिकारीले भने अझै दुई महिना लाग्न सक्ने बताए । दक्षिण एसियाली (सार्क) देशमध्ये नेपाल, अफगानिस्तान र भुटानमा मात्रै फाइभजी सेवा छैन । भारतमा हालै फाइभजीको व्यावसायिक सुरुवात भएको छ । यसको विस्तारका लागि अहिले त्यहाँ तीव्र रूपमा काम भइरहेको छ । जियो र एयरटेलले भारतका विभिन्न ठाउँमा फाइभजी नेटवर्क विस्तार गरिरहेका छन् । ओक्लाको फाइभजी स्पिड टेस्ट रिपोर्टअनुसार एयरटेलभन्दा जियोको फाइभजी स्पिड राम्रो छ । ओक्लाकै फाइभजी म्याप (नक्सा) अनुसार भारतमा सिलिगुढी, बंैंगलुरु, नागपुर र हैदरावादमा फाइभजीको व्यावसायिक प्रयोग भइरहेको छ । चेन्नई, पुने, प्रयागराज, नयाँ दिल्ली, बनारस, गाजियावादलगायत स्थानमा सीमित डिभाइसमा मात्रै फाइभजी चलेको छ । उत्तराखण्डको दल्वानी र गुजरातको अहेमदावादमा फाइभजी नेटवर्कको हार्डवेयर जडानको काम भइरहेको छ ।
दक्षिण एसियामा सबैभन्दा पहिला श्रीलंकामा फाइभजी परीक्षण र प्रयोग भएको त्यहाँको दूरसञ्चार सेवा प्रदायक डायलग आजिएटाले जनाएको छ । डायलगले सन् २०१८ मै फाइभजी क्षमताको प्रदर्शन गरेको थियो । डायलगले फाइभजी एसएमार्फत आफूले थप स्वचालित ड्राइभिङ, इमर्सिभ सेवालगायत परिष्कृत फिचर प्रदान गर्न सक्ने दाबी गर्दै आएको सिन्ह्वाले जनाएको छ । हाल श्रीलंकाको कोलम्बो, जफना, अनुराधापुरा, क्यान्डीलगायत विभिन्न स्थानमा फाइभजी नेटवर्क विस्तार भइरहेको ओक्लाको नक्सामा देखिन्छ ।
पाकिस्तानको इस्लामावादमा फाइभजी नेटवर्क छ । तर, त्यहाँ आम उपभोक्ताले सर्वसुलभ रूपमा फाइभजी चलाउन सक्दैनन् । सीमित रूपमा मात्रै फाइभजी सेवा सञ्चालनमा छ । डिसेम्बरभित्र व्यावसायिक रोल आउट गर्ने भनिए पनि राजनीतिक परिवर्तनका कारण अब सन् २०२३ को जुन महिनाभित्र फाइभजी विस्तार गर्ने पाकिस्तानको लक्ष्य छ । त्यहाँ सन् २०१९ को अगस्टमै इस्लामाबाद, कराँची र लाहोरमा फाइभजी परीक्षण गरिएको थियो ।
माल्दिभ्समा तीन महिनाअघि मात्रै चारवटा टापुमा फाइभजी सेवा सुरु गरिएको हो । ‘माल्दिभ्समा फाइभजी सेवाको सुरुवात यहाँका नागरिकका लागि पनि एक फड्को मारेसरह हो,’ माल्दिभ्स फाइनान्सियल रिभ्युले लेखेको छ, ‘फोरजीभन्दा फाइभजी १० गुना छिटो छ । यसको औसत स्पिड ४ सय एमबीपीएसदेखि ६ सय एमबीपीएससम्म हुन्छ । सबैभन्दा धेरै १ जीबीपीएसम्म स्पिड हुन्छ ।’
बंगलादेशको ढाका, चट्गाउँ र रंगपुरमा फाइभजी सेवा उपलब्ध छ । सन् २०२१ को डिसेम्बरमा ‘न्यु एरा विद फाइभजी’ कार्यक्रम आयोजना गरी टेलिटक बंगलादेशले हुवावेको सहयोगमा फाइभजी सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय संसद् भवन, बंगबन्धु स्मृति संग्रहालयलगायत ६ वटा स्थानमा फाइभजी सेवा उपलब्ध गराइएको थियो । त्यहाँका सञ्चार विज्ञले भने फाइभजी वास्तवमै आवश्यक छ भनी प्रश्न गर्ने गरेका छन् । फोरजी विस्तारमा असाध्यै ठूलो लगानी गरिए पनि त्यहाँ अझै ६७ प्रतिशतभन्दा बढी जनसंख्या यसको पहुँचमा नआइसकेको विज्ञले औंल्याएका छन् । ‘भर्चुअल रिआलिटी, इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा फाइभजीको प्रयोग हुन्छ,’ बंगलादेशका दूरसञ्चारविज्ञ महताब उद्दिन अहमदले द डेली स्टारमा प्रकाशन हुने ‘डिजिटल डेयर’ स्तम्भमा लेखेका छन्, ‘हाम्रो देशको डेटा युजेज हेर्दा दुईतिहाइले युट्युब र सामाजिक सञ्जालका लागि इन्टरनेट प्रयोग गरिरहेको देखिन्छ । युट्युब, फेसबुक र टिकटकका लागि फाइभजीमा लगानी गर्नु के हाम्रा लागि अर्थतन्त्रपूर्ण छ ?’
विदेशी मुद्रा सञ्चितिको समस्याका कारण बंगलादेशको राष्ट्रिय आर्थिक परिषद्ले फाइभजी विस्तार योजना अहिलेलाई रोकिदिएको छ । फाइभजी उति प्रयोग नभइरहेको सन्दर्भमा सरकारको यो निर्णय सकारात्मक भएको दूरसञ्चारविज्ञ अहमतको भनाइ छ । ‘हाम्रो भविष्यका लागि फाइभजी नभई हुँदैन,’ उनले थप लेखेका छन्, ‘तर, सरोकारवालाले अहिले फोरजीमार्फत नै डिजिटल समावेशिता सुनिश्चित गर्ने कार्यमा आफूलाई लगाउनुपर्छ । फाइभजीका लागि गतिलो पूर्वाधार र प्रयोगकर्ताको संख्या बढाउने काममा तयारी गर्नुपर्छ ।’ हामीकहाँ पनि फाइभजी किन चाहियो भन्ने प्रश्न कतिपयले उठाउने गरेका छन् । अहिलेलाई सामान्य परीक्षण गर्दै उपभोक्तालाई फाइभजी प्रविधिमा अभ्यस्त बनाउन खोजिएको टेलिकमको निर्देशनालयका प्रबन्धक रिमालले बताए ।

अर्थ वाणिज्य

गर्जाङ–खिम्ती प्रसारण लाइन सञ्चालनमा

- कान्तिपुर संवाददाता


रामेछाप (कास)– रामेछापको गर्जाङदेखि देवीटारसम्मको १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । गोकुलगंगा गाउँपालिका–१ गर्जाङदेखि मन्थली नगरपालिका–१३ फुलासीको न्यु खिम्ती सबस्टेसनसम्मको उक्त प्रसारण लाइन पूरा भएपछि खिम्ती खोलामा बनेको उपल्लो खिम्ती र माथिल्लो खिम्ती जलविद्युत्् आयोजनाबाट उत्पादित १९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बनाएको ३१ किमि लामो प्रसारण लाइन ०७३ सालदेखि निर्माण थालिएको थियो । कोभिड महामारीले निर्माण सामग्री आयात गर्न भएको ढिलाइ र स्थानीय अवरोधका कारण निर्धारित समयमा आयोजना पूरा हुन सकेको थिएन । स्थानीय अवरोध सुल्झाएर आयोजना निर्माण गत महिनामा मात्र सकिएको थियो ।
गर्जाङ–खिम्ती १३२ केभी प्रसारण लाइन समयमै पूरा नहुँदा माथिल्लो खिम्ती र अपर खिम्तीको १९ मेगावाट बिजुली करिब ७ महिनासम्म खेर गएको थियो । हिमालय ऊर्जा कम्पनीले उत्पादन गरेको उक्त बिजुलीलाई चार महिनाअघि जिरी सबस्टेसनबाट मकैबारी हुँदै सिँगटीसम्मको ३३ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । अब भने सिधै १३२ केभीबाट उक्त विद्युत्् प्रवाह गरिएको हिमालय ऊर्जा कम्पनीका सञ्चालक सरोज उपाध्यायले बताए । १ सय ५ वटा टावर रहेको प्रसारण लाइनले रामेछाप र दोलखाका विभिन्न भाग छुन्छ । करिब २ करोड अमेरिकी डलर लागतमा निर्मित प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत्् प्रवाह हुने प्राधिकरणले जनाएको छ । खिम्ती खोलामा निर्माणाधीन पिपल्स हाइड्रोबाट उत्पादित विद्युत््समेत अब सोही प्रसारण लाइनबाट न्यु खिम्ती पुर्‍याउने लक्ष्य छ ।

 

Page 6
समाचार

टीकापुर क्षेत्रमा को बलियो ?

- डीआर पन्त

(धनगढी) - थरुहट आन्दोलनका क्रममा हिंसात्मक घटनाले चर्चामा रहेको कैलाली–१ मा पर्ने टीकापुर क्षेत्रमा यसपटक कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच रोचक प्रतिस्पर्धा हुँदै छ । कैलाली–१ मा २०७४ मा २१ हजारको फराकिलो मतान्तरले टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीले निर्वाचन जितेका थिए तर जनप्रतिनिधिका रूपमा उनले काम गर्नै पाएनन् । यो क्षेत्र पूरै कार्यकाल सांसदविहीन जस्तै भयो ।
चौधरीले कारागारबाटै गठन गरेको नेपाल नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ यसपटक
यही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार छिन् । सत्ता गठबन्धनले यसअघि चारपटक जितेर पटक–पटक मन्त्री भइसकेका कांग्रेस नेता रामजनम चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेले टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावललाई उठाएको छ ।
जातीय उत्पीडनको मुद्दासँगै रेशम चौधरीको प्रतिनिधिका रूपमा उनकै श्रीमतीलाई अगाडि सारेको नागरिक उन्मुक्ति पार्टीले गत स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकामा जितेको छ । वडाध्यक्षहरूले पाएको मतअनुसार यहाँ नागरिक उन्मुक्ति पार्टी बलियो छ । नागरिक उन्मुक्तिले १७ हजार ९ सय १३ पाएको छ भने कांग्रेस र माओवादीको मत जोड्दा १७ हजार ९ सय ७४ हुन्छ । एमालेले १० हजार ३ सय ३२ मत पाएको थियो । नागरिक उन्मुक्तिले जातीय उत्पीडन, टीकापुर घटनामा निर्दोषलाई लगाइएको मुद्दा र पिछडा वर्गको अधिकारलाई मुख्य चुनावी एजेन्डा बनाएको छ । थारूबहुल क्षेत्र भएकाले पनि नागरिक उन्मुक्तिले रेशम चौधरीको विरासत जोगाउन सकिने आकलन गरेको छ । पार्टीका प्रवक्ता दामोदर पण्डित यस क्षेत्रका मतदाता अन्यायविरुद्ध गत निर्वाचनमा जस्तै धेरै मतले आफ्ना उम्मेदवार विजयी गराउनेमा ढुक्क रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यो लडाइँ जातीय, सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका वर्ग र जहिले पनि शासन गर्ने वर्गका बीचको लडाइँमा परिणत भएको छ ।’
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका पूर्वमन्त्री चौधरीले ०४८, ०५१, ०५६ र ०७० मा यही क्षेत्रबाट जितेका थिए । थारू समुदायमा उनको पकड बलियो रहेको मानिन्छ । टीकापुर घटनालगत्तैको निर्वाचन र अहिलेको परिस्थितिमा निकै भिन्नता रहेको कांग्रेस नेताहरूको दाबी छ । कैलाली कांग्रेसका सचिव नृप सुनार भन्छन्, ‘भावनात्मक रूपमा खेलबाड गरेर राजनीति धेरै लामो समय टिक्न नसक्ने यो चुनावको परिणामले देखाउनेछ ।’ सुनार गठबन्धनका उम्मेदवार चौधरी र उन्मुक्ति पार्टीबीच प्रतिस्पर्धा हुन सक्ने कुरामा सहमत छन् तर जातीय रूपमा एकपक्षीय मतदान हुन सक्ने अनुमान गलत भएको उनको तर्क छ । ‘गठबन्धनका उम्मेदवार पनि चौधरी समुदायका नै हुन्,’ उनले भने, ‘जातीय मतसँगै संगठनको मतका कारण उन्मुक्तिभन्दा गठबन्धनका उम्मेदवार बलिया छन् ।’
उन्मुक्ति र गठबन्धनका उम्मेदवारबीच जातीय मत विभाजन हुंँदा पहाडी समुदायको एकछत्र मत ल्याएर जित हात पार्ने दाउमा एमाले पनि छ । एमालेबाट उम्मेदवार बनेका रावल अछामबाट बसाइँ सरेको समुदायका हुन् । यस क्षेत्रमा अछामबाट झरेका मतदाताको संख्या अधिक छ । ०७४ मा यहाँ एमाले उम्मेदवार गरिमा शाहले १३ हजार र रेशम चौधरीले ३४ हजार मत ल्याएका थिए । व्यवसायी हर्क थापा जातीय आधारमा चौधरी समुदायको मत दुवै उम्मेदवारमा विभाजित हुँदाको फाइदा एमालेलाई भए पनि जित हात पार्न कठिन भएको तर्क गर्छन् । उनले भने, ‘उन्मुक्ति र गठबन्धनभन्दा निकै पछाडि एमाले छ ।’ एमाले नेता भीम रावलप्रति पार्टीबाट भएको अन्यायका कारण पनि एमालेप्रति मतदाताको आक्रोश देखिएको उनले बताए । थापा भन्छन्, ‘व्यक्तित्वका आधारमा गठबन्धनका चौधरी नै बलिया देखिन्छन् तर विगतको जस्तो टीकापुर घटनाको रापले पुनः मत ध्रुवीकरण भयो भने उन्मुक्तिलाई उनले पनि रोक्न सक्दैनन् ।’
स्थानीय तह निर्वाचनमा उन्मुक्तिप्रति देखिएको समर्थनलाई उक्त पार्टीले जोगाउन सक्छ कि सक्दैन भन्ने विषयले जित र हारको निर्णय हुने धेरै सर्वसाधारणको आकलन छ । स्थानीय तहमा यस क्षेत्रमा पर्ने जानकी, भजनी, टीकापुर र जोशीपुरमा ५ वटा वडाबाहेक सबैमा नागरिक उन्मुक्ति पार्टीले जितेको हो । भजनीका शिक्षक हरिमोहन जोशी गठबन्धनले चौधरी समुदायबाट उम्मेदवार बनाएका कारण उन्मुक्तिलाई केही असहज परिस्थिति सिर्जना भएको बताउँछन् । उनले भने, ‘टीकापुर घटनाको राप अहिले पनि छ, जसले गर्दा यो क्षेत्रमा उन्मुक्तिले स्थानीय तह जितेको हो ।’ उनका अनुसार स्थानीय तहमा देखिएको मत ध्रुवीकरण यसपटक नहोला भन्न सकिँदैन ।

समाचार

निहारिकाको छोरा र श्रेष्ठको डीएनए मिल्यो

- कान्तिपुर संवाददाता

 

जनकपुर (कास)– प्रेमसम्बन्धमा रहेकै बेला गर्भवती बनेकी जनकपुरकी निहारिका राजपुतको कोखबाट जन्मेको छोरा र प्रेमी शिव श्रेष्ठको डीएनए मिलेको छ । श्रेष्ठको डीएनए परीक्षण माग गर्दै राजपुत लामो समय काखमा छोरा च्यापेर संघर्षमा थिइन् । उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीका अनुसार आरोपित श्रेष्ठ र राजपुतको कोखबाट जन्मेको बच्चाको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको छ ।
‘बच्चा र श्रेष्ठको डीएनए मिलेको रिपोर्ट शुक्रबार हामीलाई प्राप्त भएको छ,’ रजिस्ट्रार अधिकारीले भने, ‘रिपोर्टसहित अब यो मुद्दा फेरि इजलासमा पठाइनेछ ।’ कात्तिक २५ मा पेसी तोकिए पनि चुनावलगत्तै सुनुवाइ हुने उनले बताए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको कोखबाट जन्मेको बच्चाको डीएनए परीक्षण गर्दा ९९.९९९ प्रतिशत डीएनएन मिलेको हो । उच्च अदालत जनकपुरले डीएनए परीक्षण गर्न आदेश दिएपछि गत भदौ २४ मा दुवैको डीएनए परीक्षण भएको थियो । राजपुतले जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् । श्रेष्ठले भने निहारिकाको आरोप निराधार रहेको भन्दै अदालतमा बयान दिएका थिए । जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि निहारिका उच्च अदालत पुगेकी थिइन् । उच्च पुग्न पनि उनले काठमाडौंमा संघर्ष गर्नुपर्‍यो । काठमाडौंमा बच्चासहित अनशनमा बसेपछि सरकारसँग भएको वार्तामा आरोपित श्रेष्ठको डीएनए परीक्षण गर्ने सहमति भएको थियो ।

Page 7
समाचार

काठमाडौं–५ ः जोगाउने र भत्काउने प्रतिस्पर्धा

- कान्तिपुर संवाददाता

काठमाडौं–५ मा एमालेले यसपटक पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उठाएको छ । उनको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल छन् । एमालेको मजबुत संगठन रहेको र पटक–पटक जित्दै आएको
यो क्षेत्रमा पौडेल नयाँ उम्मेदवार हुन् । दुवै जना आ–आफ्ना मुद्दा लिएर मतदाताका घरघर पुगिरहेका छन् । प्रस्तुत छ, पोखरेल र पौडेलसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

ॅपरिवर्तनका नाममा दलको विकल्प हुन्न’


चुनावी अभियान कसरी चलिरहेको छ ?
विशेष योजना बनाएर जनताका बीचमा गएका छौं । मतदाता र उम्मेदवारबीच संवाद गर्ने पहिलो चरणको काम पूरा गरेका छौं । मतदाताले सुझाव दिनुभयो, विगतमा भएका कामबारे टीकाटिप्पणी गर्नुभयो । कतिपय कुरा सही पनि छन् । कतिपय गलत सूचना वा आग्रहका आधारमा आएका हुन्छन् ।
मतदाताले तपाईंप्रति गरेको अपेक्षा र उहाँहरूको भावना कस्तो पाउनुभयो त ?
मतदाताले भेट भएन, बीचमा आउनुभएन भन्ने गुनासो गर्नुभएको छ । यसबीचमा जननिर्वाचित प्रतिनिधि र जनताका बीचमा संवाद गराउने संयन्त्र (ब्रिजिङ) को अभाव भएको अनुभव पनि भयो । जनता र जनप्रतिनिधिको नियमित संवादको संरचनागत व्यवस्था हुनपर्छ भन्ने कुरा खड्किएको छ । स्थानीय तहमा निर्वाचितहरूको वडा कार्यालय हुन्छ । भेट्ने र आफ्ना कुरा राख्न त्यहाँ कुनै समस्या भएन तर प्रदेश र प्रतिनिधिसभाका प्रतिनिधिलाई समस्या भयो । यसले जनप्रतिनिधिको पनि कार्यालय चाहिने रहेछ भन्ने आवश्यकता बोध भयो ।
अन्यत्रको तुलनामा राजधानीका मतदाताको चरित्र फरक देखिन्छ । यस पटक परिवर्तनको हावासमेत चलेको छ । त्यसले तपाईंहरूलाई कतिको अप्ठ्यारो पारेको छ ?
आमरूपमा काठमाडौंमा मतदाताबारे एउटा टिप्पणी छ । तर, यो निर्वाचन क्षेत्रका मतदाताले आफ्नो विवेक पुर्‍याउँछन्, सही कुराको जानकारी राख्छन् । सत्यको पक्षमा उभिन्छन् । छिटोछिटो भइरहेको परिवर्तनले प्रभाव पनि पार्छ, त्यो कहिले सकारात्मक कुराले हुन्छ, कहिले नकारात्मक कुराले । त्यसबेला राजनीतिक दल र जनप्रतिनिधिले छिटो ‘रेस्पोन्स’ गर्न र जनतालाई यथार्थ जानकारी गराउन पर्छ । हामी जनतालाई सुसूचित गराउने काम गर्दै आएका छौं ।
तपाईंहरूको विकल्प खोज्न स्वतन्त्र उम्मेदवारहरूले अभियान नै चलाएका छन् । चुनौती बढाएको छैन ?
युवा पुस्ता भनेको एउटा पाटो हो, नयाँ भनेको विचार हो । उमेरले होइन, चिन्तन, सोचले नयाँ हुनुपर्‍यो । नयाँ भन्ने तर सोच पुरानै भयो भने केको परिवर्तन ? विचार र गतिविधिमा नवीनता भएन भने उमेरले मात्रै युवा र नयाँ भन्ने हुन्न ।
स्वतन्त्र उम्मेदवारहरूले तपाईंहरूलाई चुनौती दिन सक्ने देख्नुहुन्न ?
संविधानले दिएको अधिकार प्रयोग गरेर कुनै पनि योग्यता पुगेको नागरिकले जनताको अभिमत लिन्छु भनेर उम्मेदवार हुनुलाई अन्यथा लिन मिल्दैन । राजनीतिमा रुचि राखेर आउने कुरा राम्रो पनि हो । नयाँ ढंगले, नयाँ कुरा आउँछन् भने त्यसलाई स्वागत गर्नुपर्छ तर दलीय प्रणालीलाई कमजोर बनाएर कुनै अर्कै सोचलाई प्रभावित बनाउने हिसाबले प्रयत्न गरिएको हो भने त्यो गलत हुन्छ । लोकतान्त्रिक प्रणालीमा एउटा दलले कमजोरी गर्‍यो भने अर्को आउँछ । एउटा नेता भ्रष्ट भयो भने अर्को नेता आउला ।
कांग्रेसले नयाँ उम्मेदवार अघि सारेको छ । नयाँ अनुहार, त्यसमा पनि युवालाई अघि सार्दा तपाईंका लागि कत्तिको भारी पर्ने देख्नुहुन्छ ?
उम्मेदवारको हिसाबले यस क्षेत्रमा म नयाँ होइन, कुनै अरू ठाउँको मतदाता डुल्दाडुल्दै उम्मेदवार बन्न आएको पनि होइन । यहाँका जनतासँग मेरो लामो समयदेखि परिचय छ । मेरा अब्बल कुराहरू देख्नुभएको छ, कमजोरी छन् भने पनि त्यो खुलस्त टीकाटिप्पणी गर्नुहुन्छ । मैले गरेका विकास निर्माणका काम र मेरो भूमिकाका बारेमा सबैलाई जानकारी छ । म नेकपा एमाले र एमालेका विचारको प्रतिनिधित्व गर्छु । राष्ट्रिय राजनीतिमा एमालेले जुन राजनीतिक ‘पोल’ को नेतृत्व गर्छ, त्यो पोलको म जिम्मेवार नेता हुँ । सांगठनिक अवस्थाले तुलनात्मक रूपमा यो क्षेत्र सबल ठाउँ पनि हो । स्थानीय तहको निर्वाचनकै परिणामले पनि आधार र प्रमाण दिएको छ । यी कारणले यस क्षेत्रमा एमालेको वर्चस्व छ, रहन्छ भन्नेमा विश्वस्त छु ।
कांग्रेस उम्मेदवारलाई सत्ता गठबन्धनका सबै दलको साथ छ । संसदीय निर्वाचनको प्रकृति फरक हुने भएकाले स्थानीय तहमा पाएको मत यस पटक आउला भन्ने ग्यारेन्टी कसैको देखिन्न । भित्रभित्रै तपाईंलाई सत्ता गठबन्धनको मनोवैज्ञानिक त्रास त होला नि ?
स्थानीय तहमा पनि त गठबन्धन थियो । त्यतिमात्रै होइन, हाम्रै पार्टीमा लामो समय भूमिका खेलेका साथीहरू गठबन्धनको सारथि भएर निस्किए । त्यति हुँदाहुँदै पनि १५ वटा वडामध्ये ११ वडामा अध्यक्षसहित हामीले विजय प्राप्त गरेका छौं । तीनवटा वडामा बहुमत सदस्य जितेका छौं । एउटा वडामा मात्रै पूरै ‘प्यानल’ हारेका छौं । स्थानीय तहमा नि गठबन्धनको मनोवैज्ञानिक त्रास थियो । त्यतिबेला हामीलाई धूलोमा मिलाइदिन्छौं भनिएको थियो तर हामी यो अवस्थामा आयौं । संगठनको तागतमा आएको मत थियो ।
यो क्षेत्रमा ५ देखि ७ हजार मत सुकुम्बासी बस्तीको छ । सुकुम्बासीका लागि तपाईंहरूले केही गर्नुभएन भन्ने गुनासो पनि रहेछ...
सुकुम्बासी समस्या समाधान गर्नकै लागि केपी ओली नेतृत्वको सरकार छँदा भूमि आयोग बनाउने हामी नै हौं । भूमि आयोगले देशभर कहीँ, केही नभएका सुकुम्बासीको गाँस–बासको व्यवस्था कसरी गर्नेर् र अर्को असुरक्षित र अव्यवस्थित बसोबास गर्नेहरूलाई व्यवस्थित कसरी गर्ने भन्नेबारेमा आयोगले काम गर्‍यो । आयोगको कानुन बनाउने काममा लाग्यौं । आधारभूत रूपमा काम गर्न
लागेका थियौं, सरकार ढल्यो । एमालेले पहिलोपल्ट सुकुम्बासी समस्या समाधान गर्न खोजेको कुरा आममतदातालाई थाहा छ । यो कामलाई निरन्तरता दिएर निष्कर्षमा पुर्‍याउने हाम्रो अठोट अझै छ । हामी पूरा गर्छौं ।
पार्टीले त अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिसकेको छ तर अहिले धेरै पार्टीमा आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रचलन बढेको छ । तपाईंले पनि ओलीको विकल्पमा आफूलाई अघि सार्ने योजना बनाउँदै हुनुहुन्छ कि ?
देश बनाउन दह्रो पार्टी र दह्रो नेता चाहिन्छ । कमजोर पार्टी र कुनै सपना नदेख्ने नेताको काम छैन । स्वप्नदर्शी नेता चाहिन्छ । दह्रो पार्टीको दह्रो नेता नभई देश अघि बढ्दैन । आज १८ सिटमा उम्मेदवारी दिनेले देशको नेतृत्व गर्छु, ४४ सिटमा उम्मेदवारी दिनेले देशको प्रधानमन्त्री हुन्छु भन्छन् । कम्युनिस्टसँग मुख्य प्रतिद्वन्द्वी रहेको कांग्रेसले जम्मा ८४ सिटमा उम्मेदवारी दिएको छ तर देशको नेतृत्व गर्छु भन्छ । यो अनौठो छ । आजको अवस्थामा दह्रो पार्टी एमाले हो र नेतृत्व गर्ने दह्रो नेता केपी ओली हो । पार्टीले सुविचारित ढंगले केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेको हो ।

'मुद्दाका हिसाबले म स्वतन्त्रको प्रतिनिधित्व गर्छु’

नयाँ ठाउँमा उम्मेदवार बन्नुभएको छ । तपाईंको अभियान कसरी अघि बढ्दै छ ?
मतदातामाझ आफ्नो एजेन्डा राख्ने, कुरा सुन्ने र मत माग्ने काम भइरहेको छ । मतदाताले पनि नयाँ मुद्दासँगै नयाँपन खोजेको, युवा खोजेको अनुभव भइरहेको छु । मतदाताको कुरा सुन्दा राजनीतिक विसंगतिबाट आजित भएको, राजनीतिले विश्वास गुमाएको, नेतृत्वले सम्मान गुमाएको अवस्था छ । राजनीतिलाई विश्वासिलो बनाउने र नेतृत्वप्रति आस्था र सम्मान जगाउने काम गर्नुपर्ने देखेको छु ।
भूगोलको हिसाबले तपाईं तनहुँको बासिन्दा, मतदाता पनि उतैको हुनहुन्छ । प्रतिस्पर्धीले तपाईंलाई ॅटुरिस्ट’ उम्मेदवारका रूपमा चित्रण गर्दै आइरहेका छन् । यसलाई चिरेर अघि बढ्न कति कठिनाइ भएको छ ?
नयाँ भन्न मिल्दैन । स्कुलदेखि नै यहीँ पढेको हो । अमृत साइन्स क्याम्पसको स्ववियु सभापति भएको, नेविसंघको केन्द्रीय राजनीति गरेको, त्यसको ‘बेस’ काठमाडौं हो । कांग्रेसको केन्द्रीय तहमा रहेर काम गरेको सबै जोड्दा मैले ३३ वर्ष काठमाडौंमा बिताइसकेको छु । मलाई नयाँ भन्नेहरू भन्दा म पुरानो हो । यही आधारमा चुनौती पटक्कै छैन ।
तयारी तनहुँमा थियो, नेता व्यवस्थापनको चेपुवामा पर्दा काठमाडौंबाट टिकट पाउनुभयो । यसले स्थानीय कांग्रेसमा भित्रभित्र असहयोगको अवस्था त छैन ?
टिकट सबैले पाउँदैनन् । जहाँको टिकट लिँदा पनि सुरुमा अलिअलि प्रतिक्रिया भइहाल्छन् । यहाँ पनि थियो । तर, अहिले सबै सेटल भइसक्यो । साथीहरू पूरै मैदानमा जुट्नुभएको छ । आन्तरिक अन्तरविरोध छैन । नेपाली कांग्रेसको नेतृत्व स्थापित गर्नुपर्छ भनेर लाग्नुभएको छ । सुरुका अवस्था जे भनेर अनुमान गर्थे, त्यस्तो अवस्था नभएकाले मलाई सहज भएको छ । तर, समय थोरै भएकाले सबै मतदातासँग कसरी पुग्ने भन्ने कुरा जटिल छ । त्यसका लागि फास्ट ट्र्याकमा कार्यक्रम बनाएका छौं ।
मतदाताका गुनासा कस्ता छन् ?
तपाईं यस पटक भोट माग्न आउनुभयो, त्यसपछि अर्को चुनावमा आउने होइन होला भन्ने मतदाताको प्रश्न पाएँ । चुनाव जिताएर पठाएपछि आफ्ना लागि सबैथोक गर्नुहुन्छ, हामीलाई वास्ता गर्नुहुन्न, हाम्रा समस्या बुझ्नुहुन्न भन्ने ठूलो अविश्वास देखियो । मतदाताको त्यस्ता गुनासोलाई केन्द्रमा राखेर हामीले नवीन ढंगका कार्यक्रम र योजना अघि सारेका छौं । राजधानीमा अहिले पनि ७ किमि सडक पिच गर्ने कुरा चुनावी मुद्दा छ । डेढ करोड बराबरको मेलम्चीको खानेपानी ट्यांकी छ तर त्यसैको मुनि पानी छैन । पानी लैजाने कुरा चुनावी मुद्दा बनेको छ । एकदमै स–साना विषय पनि राजधानी जस्तो ठाउँमा चुनावी मुद्दा हुने लाजमर्दो अवस्था छ ।
सबैभन्दा सम्पन्न, शिक्षितदेखि सुकुम्बासी मतदातासम्म यो क्षेत्रमा छन् । उनीहरूको चाहना र अपेक्षालाई सम्बोधन गर्न कस्ता कार्यक्रम र योजना छन् ?
सम्पन्न मतदाता सुरक्षा चाहनुहुन्छ । पूर्वाधारको विकास चाहनुहुन्छ । गाडी हुनेलाई बाटो राम्रो चाहियो । राज्यलाई कर तिर्नेहरूले राज्यबाट पाउनुपर्ने सुविधा खोजिरहनुभएको छ । सँगै अव्यवस्थित बस्ती र सुकुम्बासीको अवस्था उस्तै छ । अत्यन्तै गरिबीको अवस्था पनि देखिन्छ । पूर्वाधार विकास नभएर पछाडि परेको भूगोल पनि छ । एउटा सांसदसँग विकासको अपेक्षा पनि त्यत्तिकै छ, नीति, निर्माण गरेर राष्ट्रका विषयमा प्रखरता देखाओस् भनेर आशा पनि छ । यसलाई सम्बोधन गर्ने गरी अघि बढेका छौं ।
तपाईंसँग प्रतिस्पर्धामा एमालेका वरिष्ठ नेता हुनुहुन्छ, तपाईंलाई जित्न त धेरै कठिन होला होइन ?
हेभीवेट भनेको के हो ? बारम्बार मौका पाएर, ठूलो पोजिसनमा बस्ने आधारले मात्रै हेभीवेट हो कि ? जनताको पक्षमा काम गर्ने र लोकप्रिय बन्ने हिसाबले हेभीवेट हुने हो ? मुद्दाका हिसाबले, विगत जोडेर हेर्ने हिसाबले, अहिले प्रस्तुत गरिएका मुद्दाका हिसाबले हेभीवेट हामी नै हो ।
तपाईंले आफूलाई नयाँ अनुहार र परिवर्तनको वाहक भनेर बलियो भन्नुभएको हो ?
नयाँ भनेको सांसदको रूपमा हुने हो, नत्र म नयाँ होइन । राजनीतिक बेथितिलाई सुधार गर्ने, सुशासन कायम गर्ने मुद्दामा हामीले कहिले वकालत गरेका छैनौं ? केवल सडकमा भन्दा सदनमा गएर बोल्दा प्रभावकारी हुन्छ, सच्चिन र सच्याउन सकिन्छ । एउटा जनप्रतिनिधि हुने सन्दर्भमा म नयाँ होइन । सांसदको रूपमा प्रवेश गरेको छैन । गल्ती गरेकाहरूको दण्ड भोग्न परिरहेको छ । हामीले ‘गर्छौं’ भन्ने हो । हामीले बनाएको विगतले विश्वास गर्ने स्थिति छ ।
स्वतन्त्र उम्मेदवारलाई कति चुनौती ठान्नुभएको छ ?
म यसलाई पार्टीहरूलाई दबाब दिन मतदाताले गरेको विद्रोह हो भन्न रुचाउँछु । तर, मतदाताले के पनि बुझ्नुहुन्छ भने स्वतन्त्र एक्लैले भन्दा पार्टीभित्र वैकल्पिक राजनीतिको वकालत गर्ने मान्छे आउँदा त्यसले बढी काम गर्न सक्छ । कार्यान्वयन गर्न सक्छ, परिवर्तन गर्न सक्छ भन्ने बुझ्नुभएको छ ।
यसको लाभ तपाईंले लिन सक्नुहुन्छ ?
हामी राजनीतिलाई र पार्टीलाई पनि सच्याउने गरी उभिएका छौं । लोकतान्त्रिक व्यवस्थाका तमाम मान्यताहरूको पालना गराउनका लागि आन्तरिक रूपमा क्रान्ति गनुपर्ने जरुरी छ । त्यो तयार भएरै हामी उभिएका छौं । अहिले स्वतन्त्रको लक्ष्य पनि व्यवस्थामाथिको प्रहार होइन । व्यवहार बदलिएन । अवस्था बदलिएन भन्ने हो । हामीले पनि राजनीतिक दलभित्रै रहेर अवस्था बदल्न खोजेका हौं । व्यवहार बदल्न खोजेका हौं । दलको सीमारेखाभन्दा माथि गएर राष्ट्रहितका मुद्दामा वकालत गर्न सक्ने मान्छे चाहियो भन्ने आवाज मतदातामा बढी छ । यसलाई सम्बोधन गर्न सकियो भने चुनाव जित्न मलाई कठिनाइ छैन ।
तपाईंको मुख्य प्रतिस्पर्धी एमाले कि स्वतन्त्र ?
स्वतन्त्र साथीहरूको संख्या एकदमै बढी छ । संगठित भएर आएको भए त स्थिति अर्कै हुन सक्थ्यो । मत बाँडिएको कारणले स्वतन्त्र शक्तिशाली हुन्न कि भन्ने अनुमान छ । मुद्दाको हिसाबले त मेरो अनुहार पनि त्यस्तै त्यस्तै देखिन्छ । त्यो पक्षभन्दा पनि पहिला जितेको र संगठनको हिसाबले प्रतिस्पर्धा एमालेसँगै छ ।
भोलिका दिनमा तनहुँमा सहज भयो भने काठमाडौं छोड्नुहुन्छ भन्ने अविश्वास त मतदातामा छ नि ?
काठमाडौंजस्तो ठाउँमा काम गर्ने अवस्था हुँदाहुँदै अन्त जाने कुरा हुन्न । कोभिडका बेलामा एउटै काम मैले काठमाडौं र तनहुँमा गरेको थिएँ । काठमाडौंमा निकै प्रचार भयो तर तनहुँमा भएन । तनहुँमा रिसोर्स पनि जुटेन । काठमाडौंमा प्रशस्त उठ्यो । अस्पतालमा अक्सिजन नहुँदा हामीले राखेर चलाएका थियौं । ब्लड दिने र लिने एउटा एप्स दुवै ठाउँमा चलायौं । तनहुँमा साढे ३ सयले त्यो एप्स चलाउनुभयो, काठमाडौंमा ५३ हजारले । यति सजिलो र एक्सपोजर हुने ठाउँ छाडेर जाने कुरा हुन्न ।

समाचार

राष्ट्रपति आइसल्यान्ड जाँदै

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– १८ सदस्यीय टोलीको नेतृत्व गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन सोमबार आइसल्यान्डको रेक्युभिकमा जाने भएकी छन् । कात्तिक २२ देखि २४ सम्म चल्ने फोरममा विश्वभरबाट महिला नेतृहरूले भाग लिँदै छन् । सोही अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल) ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गर्ने भएको छ । भ्रमण टोलीमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
सन् २०१८ मा सुरु गरिएको फोरममा राजनीति, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडियालगायत क्षेत्रका महिला नेतालाई वार्षिक रूपमा बोलाइन्छ । यो लैंगिक समानता, सशक्तीकरण र महिला नेतृत्व अभ्यासबारे विचार आदानप्रदान गर्ने मञ्च हो ।

समाचार

मतपत्र छपाइ सकियो

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस र वाग्मती प्रदेशमा ढुवानी बाँकी रहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २ करोड ४ लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ एक करोड ९९ लाख १८ हजार ५ सय र समानुपातिकतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छपाइ भएको छ ।
५७ प्रकारका निर्वाचन सामग्री जिल्ला पठाइसकेको आयोगले जनाएको छ । यसपालि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् ।

समाचार

रथी खड्कालाई दर्ज्यानी चिह्न

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाली सेनाका रथी सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी लगाइदिएका हुन् । मन्त्रिपरिषद्को गत बुधबारको बैठकले उपरथी खड्कालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Page 8
खेलकुद

अस्ट्रेलिया बाहिरिने खतरामा

- कान्तिपुर संवाददाता

 

एएफपी (एडिलेड) - ग्लेन म्याक्सवेलले नटआउट अर्धशतक मदतमा अस्ट्रेलियाले शुक्रबार ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानमाथि ४ रनको तनावपूर्ण जित निकल्दै सेमिफाइनल प्रवेशको सम्भावना जीवन्त राखेको छ ।
आयोजक तथा डिफेन्डिङ च्याम्पियन रहेको अस्ट्रेलियाको भाग्य भने अब सबैभन्दा ठूलो प्रतिद्वन्द्वी इंग्ल्यान्डको प्रदर्शनमा निर्भर हुनेछ । सुपर–१२ को ग्रुप–१ को लिग चरणको अन्तिम खेलमा इंग्ल्यान्डले श्रीलंकाको सामना गर्नेछ ।
त्यसमा इंग्ल्यान्ड पराजित रहे अस्ट्रेलियाको सेमिफाइनल बाटो खुल्नेछ । दिनको पहिलो खेलमा आयरल्यान्डलाई सजिलै हराएको न्युजिल्यान्ड भने यही नतिजाका कारण अन्तिम चारमा पुगेको हो । एडिलेड ओभलमा भएको खेलमा म्याक्सवेलले ३२ बलमा ५४ रन बनाएपछि अस्ट्रेलियाले ८ विकेट गुमाई १ सय ६८ रन जोडेको थियो । म्याक्सवेलले ४ चौका र २ छक्का प्रहार गरे ।
अफगानिस्तानको बलिङ आक्रामणसामु अस्ट्रेलियाले आफूलाई चाहिँदो रन बनाउन सकेन । पछि अस्ट्रेलियन बलरले अफगानिस्तानलाई ७ विकेट गुमाएर १ सय ६४ रनमै रोक्यो ।
रशिद खानले २३ बलमा आक्रामक ४८ रन बनाए । यसले अफगानिस्तानले लक्ष्य पछ्याउने सक्ने छाँट देखाएको थियो । उनले मार्कस स्टोइनिसको अन्तिम ओभरमा १६ रन बटुले । खेल अन्त्यसम्म रोमाञ्चक चलेको थियो । जितपछि अस्ट्रेलियाली टिमका कप्तान गरिरहेका म्याथ्यु वेडले भने, ‘भोलिको खेलमा अप्रत्याशित नतिजा आउने अपेक्षा रहनेछ ।’ नियमित कप्तान आरोन फिन्च घाइते रहेको हुनाले उनले टिमको नेतृत्व सम्हालेका हुन् ।
वेडले थपे, ‘यस प्रतियोगितामा हाम्रो अहिलेसम्मको प्रदर्शन उम्दा रहेको छैन । विश्वास गरौं, यसलाई हामीलाई धेरै घाटा गर्ने छैन ।’ घरेलु टिमले चोटका कारण फिन्चसँगै टिम डेविडलाई पनि गुमाएको थियो र निश्चित जित निकाल्नुपर्ने खेलमा पेस बलर मिचेल स्टार्कलाई राखेको थिएन । नवीन–उल–हकले सुरुमै अस्ट्रेलियाको माथिल्लो क्रमका ब्याटर डेविड वार्नरलाई २५ र टिममा पुनरागमन गरेका स्टिभ स्मिथलाई ४ रनमा आउट गरे ।
उनले २१ रन खर्चेर ३ विकेटको राम्रो प्रदर्शन गरे । पछि मिचेल मार्सले ३० बलमा ४५ रन बनाए । खेलको अन्त्यमा अफगानिस्तानका कप्तान मोहम्मद नाबी निराश रहे । उनले आफ्नो टिमलाई भाग्यले साथ नदिएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले आफ्नो पहिलो खेलपछि १० दिनसम्म खेल्नुपरेन । प्रतियोगिता वर्षाले प्रभावित रह्यो । वर्षाकै कारण हामीले प्रतियोगितामा लय समात्न सकेनौं । तर कम्तीमा हामीले त्यसपछिका खेलमा राम्रो गर्न सक्यौं ।’
न्युजिल्यान्ड–आयरल्यान्ड
त्यसअघि कप्तान केन विलियम्सनको आक्रामक अर्धशतक मदतमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराएको थियो । उनले ३५ बलमा ६१ रन बनाएपछि न्युजिल्यान्डले ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । त्यसको जवाफमा आयरल्यान्डले ९ विकेट गुमाएर १ सय ५० रन बनाउन सक्यो ।
जितपछि न्युजिल्यान्डको ७ अंक भयो । खेलबारे प्रतिक्रिया दिँदै विलियम्सनले भने, ‘हामीले चाहेअनुसार राम्रो खेल्न सक्यौं ।’
न्युजिल्यान्ड हाबी रहेको खेलमा नायकमध्ये एक आइरिस बलर जोसुआ लिटिल रहे । उनले यसपल्टको प्रतियोगिताकै दोस्रो ह्याट्रिक रचे । इनिङ्सको १९ ओभरमा न्युजिल्यान्ड ३ विकेट गुमाएर १ सय ७४ रनको स्थितिमा बायाँहाते तीव्र गतिका बलर लिटिलले विलियम्सनसँगै जेम्स निसिम र मिचेल सान्टनरको विकेट लिँदै ह्याट्रिक पूरा गरे । यसअघि प्रतियोगिताको प्रारम्भिक चरणमा यूएईका कार्तिक मेयपनले श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेका थिए । हारसँगै प्रतियोगिता टुंग्याएको आयरल्यान्डका कप्तान एन्ड्र्यु बालविरेनले समग्र प्रदर्शनप्रति खुसी व्यक्त गरे । उनले भने, ‘हाम्रो बलिङ भने धारिलो रह्यो, हामीले फिल्डिङ भने चाहिँदो रहेन । समग्रमा हाम्रो प्रदर्शन राम्रो रह्यो । हाम्रो आफ्नो प्रयासमा खुसी छौं । हामीले एकाध अप्रत्याशित नतिजा पनि निकाल्न सक्यौं । पछिल्लो १२ महिनाको तुलनामा हामीले अहिले उत्कृष्ट क्रिकेट खेलिरहेका छौं । हाम्रो खेल स्तर बढेको छ ।’

खेलकुद

माउन्ट ट्रेलमा देवराज र प्रिया विजेता

- कान्तिपुर संवाददाता

(सिन्धुपाल्चोक) - भोटेकोसी गाउँपालिकामा तेस्रो लिस्तिकोट दुगुनागढी माउन्ट ट्रेल रेस प्रतियोगिताको खुलातर्फ देवराज महतरा विजेता छन् । दुई वर्षदेखि भोटेकोसी गाउँपालिका र गोरख बक्स गणले ट्रेल रेस गर्दै आएका हुन् । यसपालि २४.५ किलोमिटर दुरी २ घण्टा ८ मिनेटमा पार गर्दै देवराजले १ लाख १० हजार रुपैयाँ जिते । गत वर्ष उनले उक्त दुरी २ घण्टा १६ मिनेटमा पार गरेका थिए ।
मोहनदेव जोशी २ घण्टा १५ मिनेटमा दौड पूरा गर्दै दोस्रो भए । उनले ७५ हजार जिते । उति नै समय लगाएका राजेन्द्र तामाङ तेस्रो भए । उनले ५५ हजार पुरस्कार पाए । पहिलो संस्करणका विजेता सुमन कुलुङ चौथो भए । उनले ४० हजारमा चित्त बुझाए । अर्जुन कुलुङ पाँचौं र वेदबहादुर सुनुवार छैंटौ भए । उनीहरूले क्रमशः ३० र २० हजार पुरस्कार पाए ।
जिल्लातर्फ राजेन्द्र तामाङ, राहुल तामाङ र फुर्वा तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरूले क्रमशः ३०, २० र १५ हजार जिते । महिलातर्फ प्रिया राई विजेता भइन् । उनले २ घण्टा ५८ मिनेटमा दुरी पार गरिन् । प्रियाले ६० हजार पुरस्कार जितिन् । अनिता राई र सुनकला राई द्वितीय र तृतीय भए । उनीहरूले ३५ र २० हजार रुपैयाँ हात पारे । भोटेकोसी गाउँपालिकास्तरीयमा नेत्रविक्रम खड्का, भक्तबहादुर बुढाथोकी, अजय प्रधान क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले २०, १५ र १० हजार रुपैयाँ पुरस्कार हात पारे । नस्साङ तामाङ भने चौथो भए ।
रेस भोटेकोसी गाउँपालिका–३ स्थित तातोपानी सुख्खा बन्दरगाह भन्सारबाट सुरु भएको थियो । १ हजार २३५ मिटर उचाइबाट सुरु भएको ट्रेल रेस नयाँपुल, पाङलाङ, भालढुंगा, लिस्तिकोट हुँदै २ हजार ४२५ मिटर उचाइको गुम्बा पुगेर सिल्दुम, धारापानी, गोदाम भएर २ हजार १२२ मिटर उचाइको दुगुनागढी पुगर रेस सकिएको थियो ।
रेसमा २ सय ४१ खेलाडीले भाग लिएका थिए । विजेतालाई नेपाली सेनाका उपरथी योगराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, बाहिनीपति सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर यादव, राष्ट्रिय अनुसन्धानका डिएसपी कुमार खड्का, अन्तर्राष्ट्रिय ट्रेल रनर तथा स्काई रनर मीरा राई, गोरख बक्स गणका गणपति जनक सिलवाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भुबहादुर तिमल्सिनाले पुरस्कार वितरण गरे । भोटेकोसी गापाको ऐतिहासिक भूमि दुगुनागढी, प्रसिद्ध मन्दिर लिस्तिमाईलाई अन्तर्राष्ट्रिय पहिचान बनाउँदै पर्यटकीय क्षेत्र बनाउन र उक्त गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रलाई संरक्षण, प्रवर्द्धन गर्न उक्त रेस प्रतियोगिता संचालन गरिएको भोटेकोसी गाउँपालिकाले जनाएको छ ।

खेलकुद

एपीएफ र गण्डकीको नाटकीय ‘टार्ई’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेल नाटकीय रूपमा ‘टाई’ भएको छ । १ सय १६ रनको लक्ष्य पाएको गण्डकी मूलपानी क्रिकेट मैदानमा ३१ ओभरमै १ सय १५ रनमा अलआउट भयो ।
मौसम ढकालले कमल परियारलाई ११ रनमा बोल्ड गरेपछि एपीएफले हार टारेको थियो । ३१ औं ओभरको तेस्रो बलमा बाईबाट चौका आएपछि गण्डकीले स्कोर बराबरीमा ल्याउँदै जित नजिक पुगेको थियो । तर मौसमले कमललाई बोल्ड गरेर खेललाई नाटकीय बनाए ।
सानो लक्ष्य पछ्याएको पोखराबाट अभिषेक बस्नेतले २४, अर्जुन कुमालले १८, कप्तान विपिन खत्रीले १७ र कमल (११) बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । किशोर महतो र प्लेयर अफ द म्याच मौसमले ४–४ तथा भुवन कार्कीले २ विकेट लिए । किशोरले ९ ओभरमा १ मेडन राख्दै २७ र मौसमले ९ ओभरमा २ मेडन राख्दै ३६ रन खर्चिए ।
पिच गिलो भएका कारण ४३ ओभरमा छोट्याइएको खेलमा यसअघि टस हारेर ब्याटिङमा आएको एपीएफ ३५.१ ओभरभित्र १ सय १५ रनमै अलआउट भयो । ५३ बल खेलेका भुवन समान १ चौका र छक्का प्रहार गरी २४ रनमा अविजित रहे । पुरण विकले २३ तथा लोकेश बम र सन्दीप जोराले समान २२ रन बनाए । अमरसिंह राउटेला १३ र कप्तान शरद भेषावकर ३ रनमा आउट भए । गण्डकीबाट अमृत गुरुङ र अर्जुनले ३–३ विकेट लिए । अमृतले ४.१ ओभरमा २ मेडन राख्दै ८ र अर्जुनले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चे । सुवास भण्डारीले २ तथा विपिन र चन्द्र पौडेलले १–१ विकेट लिए ।
एपीएफ र गण्डकीले यसअघिका दुवै खेल जितेका थिए । समीकरणको हिसाबले गण्डकीले समूह ‘ए’ मा त्रिभुवन आर्मीविरुद्ध खेल्ने आफ्नो अन्तिम खेल निर्णायक बन्ने निश्चित भएको छ । दुवै समूहमा ५–५ टोली छन् । प्रत्येक समूहको शीर्ष दुई टाली सेमिफाइनल पुग्नेछन् । पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा जित हात पारेको छ । आर्मीले सुदूरपश्चिमलाई १ सय ६९ रनले पराजित गर्‍यो । अर्जुन साउद र रोहित पौडेलको अर्धशतकमा आर्मीले त्रिवि क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ८२ रन बनायो । अर्जुनले आफ्नो पूर्व टोलीविरुद्ध ७३ रन बनाए । उनले ७३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । हरि चौहान ९ र भीम सार्की ३४ रनमा आउट भए । रोहितले ५३ बल खेल्दै ४ चौकासहित ५२ रन बनाए ।
कप्तान विनोद भण्डारी २८ रनमा आउट भए । कुशल मल्लले २६ बलमा ५ छक्का प्रहार गर्दै ४३ रन बनाए । सोनु तामाङ १६ र सुसन भारी ५ रनमा आउट भए । विक्रम सोब ११ बलमा १ छक्का प्रहार गर्दै १५ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी, गजेन्द्र बोहराले २–२ तथा शेर मल्ल र मिलन बोहराले १–१ विकेट लिए । लगातार तेस्रो हारपछि सुदूरपश्चिम एक खेल खेल्नु अगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलकुद

रूपेशको उत्कृष्ट खेल

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नवौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक जितेका एफएम (फिडे मास्टर) रुपेश जैसवालले नयाँ दिल्लीमा भएको ‘एसियन कन्टिनेन्टल ब्लिज चेस च्याम्पियनसिप २०२२’ मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले दुई जीएम (ग्रान्ड मास्टर) र दुई आईएम (इन्टरनेसनल मास्टर) लाई पराजित गर्दै ११ औं स्थान हासिल गरे । उनले ब्लिज चेसको अफिसियल प्रतियोगितामा नेपाली खेलाडीको सबैभन्दा राम्रो नतिजा दिलाएका हुन् ।
‘करिअरकै सबैभन्दा राम्रो खेल प्रदर्शन गरें,’ शुक्रबार स्वदेश फर्किएका २४ वर्षे रुपेशले भने, ‘प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गरें । एदकमै खुसी छु । गर्व महसुस गरेको छु ।’ दुई साताअघि गोरखामा भएको राष्ट्रिय खेलकुदमा ब्लिज र र्‍यापिडमा त्रिभुवन आर्मी क्लबलाई स्वर्ण दिलाएका उनले दिल्लीको प्रदर्शनबारे थपे, ‘क्लासिकलमा आईएम र जीएमलाई हराउन सकिनँ । ब्लिजमा एउटालाई चाहिँ ढाल्छु, ढाल्छु (पराजित गर्छु) भन्ने सोचेको थिएँ । लिजेन्ड रमेशबाबु प्रागनन्दलाई पराजित गरेर एदकम राम्रो गरेको थिएँ । अर्को चरणमा आईएमलाई पनि हराएँ । त्यसपछि जीएमलाई ढालें । प्रतियोगितामा आफ्नो नतिजा हेर्दा ११ औं भएछु । म त चकित नै भएँ । विश्वकै उत्कृष्ट जीएम र आईएमहरूको प्रतियोगिता ११ औं स्थानमा टुंग्याउने सोंचेकै थिएन ।’
स्विस प्रणालीमा ९ चरणमा सञ्चालित च्याम्पियनसिपको पहिलो चरणमा २०७५ रेटेड रुपेशले जीएम आदित्य सामन्त (२३६७ रेटेड/भारत) सँग बराबरी खेल्दै अंक बाँडे । उनले दोस्रो चरणमा भारतकै जीएम चिथावरम अरविन्द (२५७७ रेटेड) र उज्वेकिस्तानका जीएम समसिद्दिन भोखिदोभ (२६१९) विरुद्ध भने हार बेहोरे । त्यसपछि भारतका २२५० रेटेड एफएम शरण राओलाई पराजित गर्दै १ अंक जोडेका रुपेशले पाँचौं चरणमा २३७१ रेटेड मंगोलियन जीएम सुमिया बिलगुनसँगको प्रतिस्पर्धा बराबरीमा टुंग्याए ।
रुपेशले अन्तिम चार चरणमा भारतीय खेलाडीलाई सिकार बनाउँदै लगातार जित निकाले । त्यसक्रममा उनले आईएम अमित मोक्ष (२३३० रेटेड), जीएम आरआर लक्ष्मण (२३७५), आईएम प्रणव आनन्द (२४०२) र जीएम दीपसेन गुप्ता (२३९७) लाई पराजित गर्दै ६ अंक बनाएर ११ औं स्थानमा च्याम्पियनसिप टुंग्याए । जीएम र आईएमहरूको प्रतियोगितामा १६ एफएममध्येका एक रुपेशको ‘पर्फर्मेन्स रेटिङ’ २५३५ रह्यो । सहभागी ८३ खेलाडीमध्ये ८१ औं वरीयतामा रहेर प्रतियोगितामा प्रवेश पाएका उनले करिअरकै उत्कृष्ट प्रदर्शनसँगै ११ औं स्थानमा च्याम्पियनसिप टुंग्याए ।
कजाकिस्तानका जीएम रिनात जुमाबायेव (२५६१ रेटेड) ले ८ अंक जोड्दै उपाधि जिते । कजाककै आईएम अरिस्तानबेग उराजायेव (२४४१ रेटेड), रुपेशलाई पराजित गरेका जीएम अरविन्द र भारतकै जीएम संकल्प गुप्ता (२४०२) ले ७–७ अंक जोडे । आईएम एनआर भिग्निश (२३८६), जीएम आर प्रागनानन्द (२५९९), जीएम हर्ष वर्थाकोटी (२५२३) र आईएम भी प्रणव (२४३०) समान ६.५ अंक बनाए । रुपेश समान ६ अंक जोडे पनि ‘टाई–ब्रेक’ को आधारमा तुर्कमेनिस्तानका एफएम अजट नुर्मामेदोव (२२८२) र आईएम एम प्रणेश (२३४२ रेकेड) शीर्ष दसमा अटाए ।
‘राष्ट्रिय खेलकुदमा क्लासिकलको उपाधि जित्ने खुबै इच्छा थियो । त्यसको नतिजा अहिलेसम्म आएको छैन । तर, मैले राम्रो खेल्दै दुई स्वर्ण (ब्लिज र र्‍यापिड) जितेको थिएँ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदमा सहभागी हुनुअघि निश्चल पाण्डेको सहयोगमा भारतको छत्तीसगढ र राजस्थानमा प्रतियोगिता खेलेको थिएँ । ती दुई प्रतियोगिताकै अनुभवको आधारमा गोरखा र दिल्लीमा राम्रो नतिजा हात पार्न सकें ।’ ब्लिजमा दुई प्रतिस्पर्धी खेलाडीलाई ३–३ मिनेट दिइन्छ, जसमा प्रत्येक चालसँगै घडी थिचेपछि दुई सेकेन्ड बढ्छ ।
हरेक दुई वर्षमा आयोजना गरिने एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपमा रुपेशले क्लासिकलतर्फ ९२ खेलाडीमध्ये ९० औं वरीयतामा रहेर प्रतियोगिता सुरु गरेका थिए । उनले ३ अंक जोडेर ७६ औं स्थानमा रहँदै प्रतियोगिता टुंग्याए । उनले २२३९ फर्फर्मेन्स रेटिङ निकाल्ने क्रममा आईएम अजय कार्थिकयन (२४४१ रेटेड), आईएम अमित मोक्ष (२४३०), आईएम तोलोगन तेगिन (२३८२) र जीएम आरआर लक्ष्मण (२३७८) सँग बराबरी गरेका थिए भने एकमात्र जित भियतनामका २०१७ रेटेड भु डुङ डाङविरुद्ध सातौं चरणमा हात पारे । क्लासिकलमा २१३५ वरीयताका उनले तीन आईएम र एक एफएमविरुद्ध भने हार बेहोरे ।
चेसकै छात्रवृत्तिमा रुसमा स्नातक तहको अध्ययन गरेका रुपेशले भने, ‘क्लासिकलमा कम्तीमा एउटा जीएम र आईएमलाई हराउने लक्ष्य राखेको थिएँ, पूरा गर्न सकिएन । मलाई दोस्रो दिन २०३ डिग्री ज्वरो आएपछि गाह्रो भएको थियो । तैपनि मैले प्रतिस्पर्धा कायमै राखेको थिएँ । राम्रै गरिरहेको थिएँ । उक्त लय पाँचौं चरणपछि निरन्तरता दिन सकिनँ । माथिल्लो वरीयताका तीन आईएम र एक जीएमसँग बराबरी खेल्दै अंक जोड्न सकेकोमा खुसी नै छु ।’ क्लासिकलको प्रतिस्पर्धामा खेलाडीले ९०–९० मिनेट पाउँछन् र प्रत्येक चालमा ३० सेकेन्ड थप्ने गरिन्छ ।
सन् २०१५ मा नगरकोटमा भएको एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै एफएम भएका रुपेश एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिप २०२२ मा सहभागी हुने एक्लो नेपाली खेलाडी हुन् । खेलाडी दर्ता र एक्रिडिटेसनको २ सय डलर नेपाल चेस संघले तिरेको उल्लेख गर्दै उनले भने, ‘काठमाडौं–दिल्ली–काठमाडौंको हवाई खर्च आफैंले बेहोरेर च्याम्पियनसिपमा सहभागी भएको हुँ ।’
भारतीय चर्चित जीएम रमेशबाबु प्रागनन्द नै क्लासिकलको उपािध जित्दै लन्डनमा हुने विश्व चेस च्याम्पियनसिपलाई छनोट भएका छन् ।

 

खेलकुद

हितमानले जिते घोडा दौड

- कान्तिपुर संवाददाता

म्याग्दी (कास)– पर्यटकीय क्षेत्र घोरेपानीमा आयोजित तेस्रो घोडा दौड प्रतियोगितामा कास्की चुईलेका हितमान गुरुङ विजेता भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीस्थित घोडा व्यवसायी संघको आयोजनामा सम्पन्न प्रतियोगितामा घोरेपानीका याम पुन दोस्रो र कास्की छोम्रोङका सुमित गुरुङ तेस्रो भए ।
अन्नपूर्ण–५ घोप्टेखर्क–घोरेपानी ७.५ किलोमिटर दुरी २५ मिनेट ३८ सेकेन्डमा पार गरी हितमानले ५१ हजार रुपैयाँसहित ट्रफी जिते । यामले २५ मिनेट ५३ सेकेन्ड र सुमितले २६ मिनेट ५४ सेकेन्डबाट दोस्रो र तेस्रो स्थानसहित ३१ हजार र २१ हजार रुपैयाँ पुरस्कार पाए । घोडेपानी पर्यटन व्यवसायी सुशील पुनका अनुसार प्रतियोगितामा म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाभित्रका १६ घोडचढी सहभागी थिए । कास्कीको अन्नपूर्ण गाउँपालिकाअर्न्तगतका घान्द्रुक, छोम्रोङ, उल्लेरी, टाडापानी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोरेपानी, चित्रे, शिख, खिवाङ क्षेत्रमा आउने पर्यटकको सुविधाका लागि घोडा व्यवसाय संञ्चालनमा छन् ।

खेलकुद

सहलेस विजयी

- कान्तिपुर संवाददाता


विराटनगर (कास)– सिरहाको सहलेस यूथ फुटबल
क्लब लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सिरहाले शुक्रबार क्यामरुन एभिनियर फुटबल क्लबलाई २–१ ले हरायो ।
सहलेसको जितमा फोफोना नायक बने । उनले सातौं र ६७ औं मिनेटमा गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा क्यामरुनका सोङगेले गोल गदै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । फोफोना म्यान अफ द म्याच हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए । शनिबार एपीएफ र सहारा क्लव पोखराबीच खेल हुनेछ ।

Page 9
कोसेली

रानी–महारानीका नीलडाम

- सुजित मैनाली

 


कवि श्यामलको एउटा कविता छ– किचकन्या । दरबारिया पुरुषहरूले यौनतृप्तिका लागि उपभोग गरेपश्चात् मारेका कैयौं युवती दरबारभित्रै गाडिए । अकालमै मारिएका प्रेमाप्त ती युवतीहरू किचकन्या भए । तिनीहरूको प्रेमपाशमा परेर सहरका युवकहरू खिरिलो बन्दै गएका छन् । दरबारभित्रका जमिन खोस्रिएर ती युवतीका नलीहाड पत्ता लगाई भस्म गरी तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गरिनुपर्ने राय कवितामा व्यक्त गरिएको छ ।
कविताले दरबारको आततायी चरित्रप्रति रोष व्यक्त गर्दै त्यहाँको जग भत्काउने राजनीतिलाई न्यायोचित ठहर्‍याउन दरबारका अग्ला पर्खालभित्र हुने नारी प्रताडनाको सहारा लिएको छ । दरबारभित्र केटी, कमारी, सुसारे आदिलाई दैहिक ऐयाशीका लागि दरबारिया पुरुषहरूले उपभोग गरेका र उनीहरूलाई अन्य पुरुषप्रति आकर्षित हुनबाट रोक्न बल प्रयोग गरिएका कहानी प्रशस्तै भेटिन्छन् । उदाहरणका लागि बालकृष्ण सम (शमशेर) को नाटक ‘प्रेमपिण्ड’ को कथालाई लिन सकिन्छ, जुन आफ्नै घरको घटनामा आधारित रहेको सम स्वयंले स्विकारेका छन् ।
दरबार भन्नासाथ मानिसका मनमा रसरंगमा चुर्लुम्म डुबेका दरबारिया पुरुष र उनीहरूका लागि हरदम यौन पस्किन तयार हुनुपर्ने सुसारेहरूको विम्ब निर्मित हुने गर्छ । दरबारिया पुरुषहरू यौनसुखका लागि मूलतः सुसारेमाथि निर्भर हुन्थे । त्यसैले उनीहरूका पत्नी प्रणयसुखबाट वञ्चित रहन्थे । ती स्त्रीलाई अन्य सुखको चाहिँ कमी हुँदैन थियो, शक्तिशाली पुरुषको पत्नी हुनुको हैसियतले उनीहरू रवाफिलो जीवन बाँच्थे भन्ने सामान्यतः ठानिन्छ । त्यस्ता महिलाको अवस्थामाथि प्रकाश पार्ने सामग्रीहरूको अभावका कारण वास्तविक कुराचाहिँ के हो भनी थाहा पाउन अप्ठेरो हुने गरेको छ ।
दरबार वा सम्भ्रान्त घरानामा विशेषतः पत्नी वा बुहारीको अवस्थातर्फ चिहाउने सैद्धान्तिक आधार नभएका होइनन् । तिनको आलोकमा नेपाली समाजको विश्लेषण गर्ने जमर्कोचाहिँ खासै भएको छैन । वात्स्यायनकृत ‘कामसूत्र’ मा कुलीन पुरुषका पत्नीहरूको चित्रण गर्दै भनिएको छ, ‘धनी व्यक्तिको सट्टा दरिद्र र निर्गुण नै भए पनि आफ्नो पेट पाल्न सक्ने र आत्मनियन्त्रणमा रहन सक्ने व्यक्तिलाई स्त्रीले पति रोज्नुपर्छ किनकि कुलीन स्त्रीहरूलाई बाहिरी सुख प्राप्त भए पनि भित्री सुख प्राप्त हुँदैन (३।४।५१–५२) ।’ भित्री सुखबाट वञ्चित रहनुपरेकैले उनीहरू निरङ्कुश स्वभावका हुन्छन् भन्ने वात्स्यायनको मत छ । सम्भ्रान्त परिवारमा पत्नी र बुहारीमाथि लादिएका प्रताडनालाई भन्दा अझ व्यवस्थित ढङ्गले बुझ्न सक्नेगरी सैद्धान्तिक आधार दिने व्यक्ति मार्क्सवादी चिन्तक फ्रेडरिक ऐंगेल्स हुन् । आफ्नो किताब ‘द ओरिजिन अफ द फेमिली, प्राइभेट प्रोपर्टी एन्ड द स्टेट’ मा उनले आर्थिक हिसाबले सम्पन्न परिवारमा विवाहसम्बन्धी निर्णयाधिकारबाट महिलालाई वञ्चित गरिने निष्कर्ष निकालेका छन् । जुन परिवारमा वरेस अर्थात् पुत्रलाई हस्तान्तरण गर्नुपर्ने सम्पत्ति बढी हुन्छ, त्यहाँ परपुरुषगामिनी बन्नबाट निरुत्साहित गर्नेगरी पत्नीमाथि हिंसा बढी लादिने गर्छ भनेर ऐंगेल्सले निजी सम्पत्तिको आलोकमा महिला हिंसाको विवेचना गरेका छन् । वात्स्यायन र ऐंगेल्सका यी सिद्धान्तलाई पुष्टि गर्ने केही विवरण नेपालको दरबारिया इतिहासमा पनि भेटिन्छन् । त्यस्ता विवरणमध्ये केहीले आफ्ना पतिबाट रानी–महारानीहरूले खेप्नुपरेको यातनाबारे प्रकाश पार्छन् ।

सत्ता र सम्पत्तिको रवाफ
सत्ता र सम्पत्तिको आडमा दरबारिया पुरुषहरूलाई बहुस्त्रीगमनको सुलभता हासिल हुन्छ । पत्नीहरू आफ्नो सेवा गर्न भित्र्याइएका प्राणी हुन्, उनीहरूबाट सेवा दोहन गर्नुपर्छ र काबुमा राख्न घरपालुवा जनावरलाई झैं उनीहरूलाई पनि कुटपिट गर्नुपर्छ भन्ने भाव उनीहरूमा प्रबल हुन्थ्यो । सत्ताको डन्डा देखाएर संग्रह गरिएका सम्पत्ति भोगविलासमा खर्चिने सुविधा भएकाले स्त्रीहरूबाट हरदम घेरिएर बस्ने अनि महिनैपिच्छेजसो नयाँ सन्तानको पिता बन्न सक्ने अनुकूलता पनि दरबारिया पुरुषलाई मात्र थियो । उनीहरूको दैनिकीको एउटा हिस्सा बहुस्त्रीगमनको तारतम्य मिलाउने उपक्रममै बित्थ्यो । राणा कुलका बहुस्त्रीगमनकारी पुरुषमध्येका एक जुद्धशमशेरले यौनशक्ति बढाउन दिनहुँ दुई सय भँगेराका टाउकाको सुप खाने गर्थे भनी त्यतिबेला चर्चा चल्ने गर्थ्यो । दरबारिया पुरुषका यस्ता प्रवृत्तितर्फ संकेत गर्ने प्रमाण
थुप्रै भेटिन्छन् ।
त्यस्ता पुरुषबारे चर्चा गर्ने क्रममा जेरेड डायमण्डले
आफ्नो किताब ‘ह्वाई इज सेक्स फन’ मा १९ औँ शताब्दीतिर भारतको हैदराबादका निजामको दरबारमा एक साता बिताएका एक जना यात्रुले निजामका श्रीमतीहरूले आठ दिनभित्र चार सन्तानलाई जन्म दिएको र त्यसको अर्को साता थप नौ सन्तान जन्मने निश्चितप्रायः भएको कुरा लेखेकोबारे उल्लेख गरेका छन् । मोरक्कोका एक जना सम्राट् करिब नौ सय सन्तानका पिता बनेको विवरण पनि उनकै किताबमा छ । बहुस्त्रीगमनको सहज उपलब्धता भएको परिवेशमा दरबारिया पुरुषहरू पत्नीप्रति विनम्र हुन आवश्यक ठान्दैनथे । ससाना निहुँमा उनीहरूलाई निर्घात कुट्ने गर्थे ।
उपलब्ध प्रमाणका आधारमा नेपाली इतिहासका चर्चित पात्रहरूमध्ये सबैभन्दा परस्त्रीगामी पुरुष जंगबहादुर राणा हुन् । उनका जम्मा ४२ पत्नी थिए । देशविदेशका अन्य स्त्रीसँग रासलीला रचाउने चाँजोपाँजो पनि उनी मिलाइरहने गर्थे । दिनेशराज पन्तले छापेको जंगबहादुरको एउटा पत्रमा उनले मन्नुसिंह नाम गरेका सुवेदारलाई ‘खुबसुरत अंग्रेजी बिविमाफिक्का केटी २/३ महिनाभित्रमा तैंले ल्याउन सकिस् भन्या तेरा दर्जा पनि बढाइदिउँला, मुनासिबमाफीका केटीलाई ल्याउनामा लाग्याको खर्च पनि मिनाह दीउँला’ भनेका छन् । युरोपका यौनकर्मीसँगको उनको सम्बन्ध त चर्चित छँदै छ । यति धेरै महिलाबाट यौनसुख दोहन गर्न पाएकाले
आफ्ना पत्नीहरूसँग प्रेमपूर्ण व्यवहार गर्न जंगबहादुर आवश्यक
ठान्दैनथे । पत्नीहरूलाई उनी कुटपिट गर्ने गर्थे ।
कोतपर्वपछि जंगबहादुरले सत्ताको खुड्किलो उक्लिँदै गएर अन्ततः शासनसत्तामा एकाधिकार जमाए । प्राइम मिनिस्टर हुँदै आफूलाई श्री ३ महाराज घोषित गराएर देशका वास्तविक राजालाई निष्क्रिय र शक्तिहीन तुल्याए । शासनसत्ताको मियो त्यसपछि श्री ३ को दरबारमा सर्‍यो । श्री ३ महाराज र उनीहरूका सन्तानले श्रीपेच लगाउने≤
आफ्ना पत्नीहरूलाई बडामहारानी, जेठीमहारानी, रानी, महारानी, आदिमा वर्गीकरण गर्नेजस्ता कृत्यमार्फत राणाहरूले पनि शाही ठाँट प्रदर्शन गर्न थाले ।
केशव चौंलागाईंको सम्पादनमा छापिएको किताब ‘चन्द्रशमशेरका टिपोटहरू’ मा श्री ३ महाराजका पत्नीहरूको अवस्थाबारे प्रकाश पार्ने केही सामग्री छन् । ती सामग्रीमा जंगबहादुरले आफ्ना रानीहरूलाई कुटेको तीनवटा
विवरण भेटिन्छन् ।
जंगबहादुरको दरबारमा कार्यरत खड्गसिंह गुरुङले तयार पारेको एउटा टिपोटमा रिस उठेका बेला जंगबहादुरले पत्नीहरूलाई कुट्थे भनिएको छ । टिपोटले भन्छ, ‘हाकिम अमलहरूले काम विरायो भने बेसगरी कुटन लगाइ बक्सि पछि दया गरिबक्सिने । रिसाइ बक्सेको बखत भित्र महारानीहरूलाई पनि चुटिबक्सिने ।’
जंगबहादुरको मृत्युपछि उनीसँग सती पठाइएका तीन रानीमध्ये एउटी थिइन्, पुतली महारानी । राजा राजेन्द्रविक्रम शाहको दरबारमा सुसारेको रूपमा काम गर्ने पुतली नानीले दरबारभित्रका गोप्य सूचना दिएर जंगबहादुरको उदयमा टेवा पुर्‍याएकी थिइन् । सत्तामा आएपछि जंगबहादुरले पुतलीलाई आफ्नो दरबारमा ल्याएर रानी हुँदै महारानी बनाए । उनका तर्फबाट बबरजंग नाम गरेको छोरा पनि पाए । जंगबहादुरकी प्रियपत्नीको सूचीमा पुतली महारानीलाई अक्सर राख्ने गरिन्छ । मृत्युपछि स्वर्गमा पतिले ‘गाथ अड्याउन’ पुतलीलाई खोज्लान् भनेर जंगबहादुरको टोपी र खराउसँगै पुतलीलाई जलाइएको थियो ।
तिनै पुतलीलाई हात छोड्न जंगबहादुर अप्ठेरो मान्दैनथे । जंगबहादुरले पुतलीलाई ‘बोक्सी’ को बात लगाएको र कुटपिट गरेको विवरण खड्गसिंहकै टिपोटमा परेको छ । टिपोटका अनुसार, एकपटक जंगबहादुर निजगढ पुगेका थिए । कुनै कुरामा पुतलीसँग रिस उठेपछि कुट्दै उनलाई पालबाहिर निकालिदिए । पुतलीकी सौता बडामहारानी हिरण्यगर्भदेवीले अनुनय गरेपछि मात्रै उनलाई पालभित्र छिर्न दिइएको थियो । टिपोटमा त्यस घटनाबारे भनिएको छ, ‘सालको सम्झना भएन । निजगढ वासहुँदा जनरल बबरजंगको मुमा (पुतली महारानी) उपर रिसानी भै पिटीबक्सी खिर्की बाहिर निकाली बक्सेको थियो । पछि मैंया महारानी (हिरण्यगर्भदेवी) बाट बिन्ति चढाई बक्सँदा ल्याउ त्यो बोक्सीलाई भनी भित्र पालमा ल्याईबक्सी मोहरू २६०० बक्स्यो ।’
चौंलागाईंकै किताबमा जंगबहादुरका पुरोहित शिवराजले तयार गरेको अर्को एउटा टिपोटमा जंगबहादुरले एउटी बिरामी पत्नी (कुटुवाल महारानी ?) लाई निर्घात कुटेको र दुई महिनापछि महारानीको मृत्यु भएको विवरण छ । त्यतिबेला महारानीलाई सन्चो थिएन । उनको हावा बिग्रिएको (भूतप्रेत लागेर मानसिक सन्तुलन खलबलिएको) थियो भनी लेखिएको छ । मानसिक अवस्था बिग्रिएका बेला एक दिन उनले जंगबहादुरलाई जथाभावी भनिछन् । रिसको झोंकमा जंगबहादुरले छेवैमा रहेको नाला (आगो झिक्ने दाबिलो) उठाएर त्यसैले निर्घात कुटेछन् । जंगबहादुरका अन्य पत्नीले अनुनयविनय गरेपछि मात्रै कुट्न छोडेछन् । त्यस घटनाबारे चर्चा गर्दै टिपोटमा ‘...नालै नालाले कुटि बक्सिएछ .... महारानी पनि २ महिना पछि स्वर्गे भै बक्स्यो’ भनिएको छ । खोजीपस्ने हो भने दरबारिया पुरुषका पत्नीहरूमाथि हुने हिंसाका विवरण अरू पनि पाइएलान् ।

केशरका कर्तुत
पत्नीहरूलाई प्रताडित गर्ने दरबारिया पुरुषहरूको चर्चा गर्दा छुटाउनै नमिल्ने व्यक्ति हुन्, केशरशमशेर । खासगरी एक जना पत्नीलाई उनी चरम यातना दिने गर्थे । ती पत्नीप्रतिको उनको रवैयाबारे चर्चा गर्नु लैंगिक अध्ययनका क्षेत्रमा अतिरिक्त महत्त्वको छ किनकि उनीबाट बढ्ता यातना खेप्ने लक्ष्मीराज्यलक्ष्मी नाम गरेकी पत्नी सामान्य परिवारकी छोरी–चेली नभई राजा पृथ्वीवीरविक्रमकी छोरी र तत्कालीन राजा त्रिभुवनकी दिदी थिइन् ।
लक्ष्मीराज्यलक्ष्मीप्रति केशरको रवैयालाई सामाजिक र मनोवैज्ञानिक दुवै कोणबाट विवेचना गर्न सकिन्छ । पत्नीका रूपमा भित्र्याइसकेपछि अरू त के, राजाकी छोरीलाई पनि मरणासन्न हुने गरी कुट्न मिल्छ भन्ने तत्कालीन समाजको बुझाइ केशरको व्यवहारमार्फत प्रकट भएको छ । केशरले लक्ष्मीराज्यलक्ष्मीलाई कुट्ने गरेको भेउ पाउने मानिसहरू केशरको कामलाई जायज ठहर्‍याउन ‘बादशाहाकी छोरी हुँ भनेर घमण्ड गरी होली, अनि घमण्ड तोड्न लात मार्‍यो होला’ भनी चर्चा गर्ने गर्थे । यो कुरा केशरमहलमै बसेर त्यहाँको चालचलन नियाल्न पाएकी सहिद शुक्रराज शास्त्रीकी बहिनी चन्द्राकान्ता मल्लले आफ्नो संस्मरणमा लेखेकी छन् ।
फेरि त्यतिबेला राजाभन्दा राणाहरू शक्तिशाली र सम्पन्न थिएँ । त्यसमाथि तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरका छोरा थिए केशर । राजपरिवार र राणा परिवारबीच हुने बिहेबारीको आफ्नै कथा छ । राणा शासन सुरु हुनुअघि नेपालको जातव्यवस्थामा ठकुरीको भन्दा खसको स्थान तल थियो । खस समुदायअन्तर्गत कुँवर कुलका जंगबहादुर शासनसत्तामा आएपछि पनि ठकुरी र क्षत्री भारदारले उनलाई आफूसरहको मान्दैनथे । ठकुरी परिवारसँग आफ्नो परिवारको बिहेबारी र भातभान्छा सुनिश्चित गर्न जंगबहादुरले ठूलै मिहिनेत गर्नुपरेको थियो । अथक प्रयासपछि मात्रै चौतारिया फत्तेजंग शाहकी बहिनी हिरण्यगर्भदेवीसँग बिहे गर्न उनी सफल भएका थिए । राजा सुरेन्द्रविक्रम शाहकी छोरीहरूलाई बुहारी बनाई भित्र्याउन र राजाका छोराहरूलाई ज्वाइँ बनाउन पनि उनले त्यस्तै मिहिनेत गर्नुपरेको थियो । यस्तो पारिवारिक पृष्ठभूमिका कारण पनि केशरले राजाकी छोरीलाई निर्घात कुट्दा आफ्नो कुलको श्रेष्ठता सिद्ध हुन्छ भन्ने सोचेका
थिए होलान् ।
दरबारसहित आफ्नो भव्य निजी पुस्तकालय सर्वसाधारणले उपभोग गर्न पाउनेगरी सरकारलाई दान गरेर किताबप्रेमीमाझ सद्भाव आर्जन गरेका केशर विवेकीचाहिँ थिएनन् भन्ने कुरा चन्द्राकान्ताको संस्मरण ‘मेरो आत्म–कथा’ पढ्दा महसुस हुन्छ । फेरि केशरको अभिरुचि किताबको अध्ययनमा नभई तिनको सङ्कलनमा बढी थियो । उनको संकलनमा पश्चिमी किताबहरू उल्लेख्य संख्यामा थिए । त्यतिबेला पश्चिमी मुलुकतिर महिला अधिकारको आवाज उठिसकेको थियो । भारतीय समाजमा पनि त्यसको असर परिसकेको थियो । उनको संकलनमा त्यसबारे प्रकाश पार्ने किताब पक्कै थिए होलान् । किताब पढेर विवेकी बन्न किताबको अन्तरवस्तुलाई गहिरोसँग मनन गर्ने पात्रता व्यक्तिमा हुनुपर्छ । किताबको सान्निध्यमा बस्दैमा विवेकी भइने भए धमिरा, मुसा र
साङ्ला पनि विवेकी कहलिने थिए ।
केशरले लक्ष्मीराज्यलक्ष्मीलाई निर्घात कुटेको चन्द्रकान्ताले आफैं देखेकी थिइन् । ‘श्री ५ जेठा शाहजादीमाथि सदासर्वदा मारपीट भइनै रहन्थ्यो,’ चन्द्रकान्ताले लेखेकी छन् । बिहे गर्नासाथ पति र पतिको परिवारबाट परित्यत्त भएर माइतीमै बसेकी चन्द्रकान्ताले करिब दुई वर्ष केशर महलमा काम गरिन् । पतिबाट बारम्बार कुटाइ खानुपर्दा दरबारिया स्त्रीहरूलाई दरबारको चौघेरो नै सबैभन्दा ठूलो यातना हुँदो रहेछ भन्ने कुरा लक्ष्मीराज्यलक्ष्मीको अनुभवबाट पनि सिद्ध हुन्छ । संस्मरणमा चन्द्रकान्ताले एक ठाउँ लेखेकी छन्, ‘म उहीं बसेको बेला एकचोटि मलाई शाहजादीले भनेकी थिइन्, ‘कहीं जङ्गलमा भागेर जाउँ जस्तो लाग्छ । जहाँ गए पनि सारा पल्टन लगाएर तलाश गरेर मलाई ल्याइहाल्छ । कहाँ गएर मरुँ ? ...म मरिसकेपछि मेरो जीबनी कसैले पढे भने रगतको आँसु बगाउनेछ ।’ लक्ष्मीराज्यलक्ष्मीको त्यही वचनका कारण उनले खेपेका दुःखको केही अंश अभिलिखित होस् भनेर आफूले त्यसबारे कलम चलाएको चन्द्रकान्ताले बताएकी छन् ।
चन्द्राकान्ताको संस्मरण पढ्दा कति झिनामसिना विषयमा दरबारिया स्त्रीहरूले पतिबाट यातना खेप्नुपर्ने स्थिति त्यतिबेला रहेछ भन्ने छनक मिल्छ ।
एक पटक केशर बुबा चन्द्रशमशेरको साथ लागेर तराईतिर गएका रहेछन् । त्यतिबेलै केशरको भतिजो मृगेन्द्रशमशेरकी पत्नीलाई बेथा लागेछ । राणा परिवारको थितिबमोजिम सबै आफन्त (सम्भवतः महिला) मृगेन्द्रको दरबार पुगेछन् । मैले पनि जानुपर्छ भन्ने महसुस लक्ष्मीराज्यलक्ष्मीलाई भएछ । तर, त्यसका लागि पतिको अनुमति चाहिन्थ्यो । केशर तराईतिर थिए । तत्काल सम्पर्क गरेर अनुमति लिन सक्ने अवस्था थिएन । मृगेन्द्रकोमा आफू मात्रै नपुग्दा अरूले कुरा काट्लान् भन्ने सोची पतिको डर मान्दै उनी पनि पुगिछन् । आफ्नो अनुमतिबिनै पत्नी दरबारबाहिर निस्किएको चाल पाएपछि तराईबाटै पत्र पठाएर केशरले ‘म फर्केपछि त्यसले सजाय पाउँछे’ भनी धम्क्याएछन् ।
दुई महिनापछि केशर काठमाडौं फर्किए । फर्किनासाथ उनले शाहजादीलाई नजरबन्द राख्ने सजाय सुनाएछन् । साथै दरबारका सुसारे, नानीहरूलाई अबदेखि ‘(उसलाई) तिरस्कार गर्नू, आउने–जाने समय सामुन्ने पर्दै चाक देखाएर फर्कनू’ भनी आदेश दिएछन् । दुई महिनाभन्दा बढी समय त्यस्तो सजाय दिइएको र त्यस अवधिमा शाहजादीलाई ‘जर्शाहेवको दर्शनसम्म पनि मनाही थियो’ भनी चन्द्रकान्ताले लेखेकी छन् ।
चन्द्राकान्ताको किताबमा अर्को एउटा विवरण पनि छ । आफ्नो बगैँचामा दरबारका स्त्रीहरू साथी नलिईकन एक्लै नजानू भनी केशरले उर्दी जारी गरेका रहेछन् । एक दिन उनले तमाकु भरेर बगैँचामा ल्याउनू भनी अह्राएछन् । हुक्का र नली लिएर एक जना सुसारे बगैँचातिर गइछन् । लक्ष्मीराज्यलक्ष्मीले पतिको उर्दीबारे सम्झाउँदा ‘हामी रानी होइनौं, नानी हौं, हामीलाई यो नियम लाग्दैन, फेरि मेरो साथमा यो हुक्का छँदै छ नि’ भनी जिस्किँदै बगैँचामा हुक्का राखेर ती सुसारे फर्किछन् । यो कुरा पतिले चाल पाए ती सुसारेले कुटाइ खान्छिन् भन्ने सोचेर लक्ष्मीराज्यलक्ष्मी चुप लागिछन् । दरबारभित्र हुने यस्ता झिनामसिना कुरा पनि पत्नीले आफूलाई जाहेर गर्नुपर्छ भनी केशर ठान्ने गर्थे । त्यत्तिकैमा दरबारभित्रकै कुनै पोलाहाले उनलाई सबै कुरा बताइदिएछ । तीन दिनपछि उनले पत्नीलाई बगैँचामा बोलाएर ‘यतिका दिनसम्म पनि मलाई जाहेर नगर्ने’ भन्दै रक्ताम्य हुनेगरी कुटेछन् । कुटाइको दृश्य देखेकी चन्द्राकान्ताले लेखेकी छन्, ‘(शाहजादी) अगाडि आउनेबित्तिकै केशरशमशेरले दनादन पिट्न थाले... निर्मम प्रहार गर्दै रहे । शाहजादीको पाखुरा रक्ताम्य र छियाछिया भइसक्यो, तै पनि पिट्न छोडेनन्... घाउ भएकैभित्र चोलो टाँसेर, फुकाउनै मुश्किल ।’
लक्ष्मीराज्यलक्ष्मीले आफ्नी एक जना विवाहिता छोरीमार्फत आफूले भोगेको एउटा दुःखको कहानी पनि चन्द्रकान्तालाई सुनाएकी रहिछन् । आमाकै अगाडि छोरीले आफूलाई त्यो कथा सुनाएको चन्द्रकान्ताले लेखेकी छन् । दिनहुँजसो कुटाइ खानुपरेकाले होला, आफ्ना दुःखका दिन कहिल्यै नसिद्धिने रहेछ भन्ने उनलाई लाग्यो । आफूमाथि आइलागेको साढे सातको खड्गो पन्छाउन पाए हुन्थ्यो भनी उनले सोचिन् । यसमा पतिको अनुमति मिल्ने कुरै थिएन । पतिलाई पत्तो नदिई दशा काट्न भनेर उनले कालो तील, जौ, गहतको दाल, फलामको कचौरा, सर्स्युंको तेल आदि किन्न लगाई सिरानमा लुकाइछन् । त्यो कुरा पनि केशरको कानसम्म पुग्यो । सुन्नासाथ फन्किँदै कोठामा पुगेर उनले पत्नीलाई जुत्तैजुत्ताले हानेछन् । लौरो पनि लगाएछन् । ‘मेरी स्वास्नी बोक्सी, डायनी हो, आफ्नो पोइलाई मार्ने बोक्सीलाई हेर हेर’ भनी घरमा आउने मानिसहरूलाई बताई कैयौं दिनसम्म बेइज्जत गरेछन् ।
राणाकालताका राणाहरूका दरबारमा घट्ने यी प्रतिनिधि घटना हुन् । ‘राणाशाहीको जमानामा प्रत्येक राणा दरबारमा महिलाहरूको हालत त्यस्तै थियो’ भनी चन्द्रकान्ताले
लेखेकी छन् ।

दुरूह दृश्य
विसं २००७ सालमा भएको राणाशाहीको अन्त्य र प्रजातन्त्रको स्थापना नेपालमा महिला अधिकारको क्षेत्रमा भएको एउटा युगान्तकारी परिवर्तन हो । राणाशाही ढलेपछि महिलाहरू विभिन्न प्रयोजनमा घरबाहिर निस्किने क्रम
बढ्यो । महिलाहरू चुलोचौकोमा सीमित हुँदासम्म पुरुषमातहत रहिरहन्छन् । घरमै सीमित हुँदा अन्य महिलासँग उनीहरूको अन्तरक्रिया हुन पाउँदैन । उनीहरू सङ्गठित हुन सक्दैनन् । जुनसुकै बहानामा भए पनि महिलाहरू घरबाहिर निस्किन थाले भने पुरुषहरूजस्तै सङ्गठित भएर उनीहरूले संस्कृति, राजनीति, अर्थतन्त्र आदिको रचना गर्ने अवसर पाउँछन् । यही कुरा विचारेर लैंगिक अध्ययनका क्षेत्रमा कहलिएकी मानवशास्त्री मिसेल रोसाल्डोले आफ्नो सहसम्पादनमा निस्किएको किताब ‘वुमन, कल्चर एन्ड सोसाइटी’ मा महिलाले घरको चौघेरो नाघी सार्वजनिक वृत्तमा पाइला टेक्नुलाई उनीहरूको मुक्तिको प्रमुख सर्त मानेकी छन् । विसं २००७ सालको परिवर्तनपछि नेपालका महिलाहरूले घरबाहिर पाइला राख्ने अवसर बढी पाउन थाले । पूजाअनुष्ठान, अध्ययन, समाजसेवा, जागिर, भ्रमण, राजनीति आदि प्रयोजनमा उनीहरू सार्वजनिक वृत्तमा प्रवेश गर्ने क्रम बढ्यो । यसले खासगरी मध्यमवर्गीय परिवारका महिलाहरूको अवस्था सुधारिँदै गयो । सन्दर्भसामग्रीको अभावका कारण राणाशाही ढलेपछि राणाहरूको तुजुक गिर्दा उनीहरूका पत्नीको जीवनमा त्यसको कस्तो असर पर्‍यो भनी यकिनका साथ भन्न सकिँदैन । प्रजातन्त्र स्थापनापछि शक्तिशाली बनेको शाह राजपरिवारमा पत्नी, बुहारीहरूको अवस्थामा कस्तो फेरबदल आयो भनी सङ्केत गर्ने विवरण पनि उपलब्ध छैनन् । अहिले पनि सम्भ्रान्त परिवारका महिलासँग बाहिरका मानिसको अत्यन्तै सीमित अन्तरक्रिया हुन्छ । दरबारवरिपरिका अग्ला पर्खालले बाहिरका मानिसलाई त्यहाँका महिलाको अवस्था नियाल्न नदिनेगरी छेकिदिएको छ । तिनै पर्खालले दरबारमा बस्ने पत्नी र बुहारीलाई बाहिरको संसारतिर नियाल्न नदिनेगरी छेकिरहेको त नहोला नि !

 

Page 10
कोसेली

चिनियाँ दृष्टिमा अमेरिकी भविष्य

- झलक सुवेदी

 

सन्दर्भ
गत वर्षको माघतिर अमेरिका, युरोप र खासगरी चीनमा एउटा पुस्तकको माग अत्यधिक भयो जबकि बजारमा त्यसको उपलब्धता न्यून थियो । बजारमा आपूर्तिको तुलनामा माग बढ्दै जाँदा उक्त पुस्तकलाई चिनियाँहरूले १६ हजार युआन (२५ सय अमेरिकी डलर) पनि तिरेर किन्न थाले (२३ जनवरी २०२१ को ब्लुमवर्ग समाचार) । यो समाचार पढेपछि मलाई पनि पुस्तक पढ्ने हुटहुटी जाग्यो । र, मैले खुल्दुली मेट्नैका लागि पढें । मेरा लागि ‘अमेरिका अगेन्स्ट अमेरिका’ भन्ने यो पुस्तक नयाँ थियो नै । अरू नेपाली पाठकका लागि पनि रुचिकर हुन सक्छ भन्ने ठानेर यो समीक्षाको जमर्को गरिएको हो ।

लेखकबारे
अहिलेको चीन जे जस्तो राजनीतिक विचारधाराका आधारमा अघि बढेको छ, त्यसमा कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोको सातसदस्यीय सचिवालयका एक जना सदस्य वाङ हुनिङको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ । अरू कम्युनिस्ट नेताभन्दा भिन्न हुनिङ प्राज्ञिक पृष्ठभूमिबाट आएका हुन् । सन् १९५५ मा जन्मेका उनी पैंतीस वर्षको उमेरमा प्रोफेसर, फुदान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीतिका विभागीय प्रमुख र कानुन संकायको डिन भइसकेका थिए । केही पुस्तक र जर्नलमा लेख प्रकाशित थिए । त्यही बेला उनलाई पार्टीको केन्द्रीय कार्यालयमातहत अनुसन्धान विभागमा तानिएको थियो । तीन प्रतिनिधित्वको सिद्धान्त (चियाङ च मिन), विकाससम्बन्धी वैज्ञानिक दृष्टिकोण (हु जिन्ताओ) र सी विचारधाराजस्ता चिनियाँ नेताका अवधारणासहित सी चिनफिङको सपना मानिएको ‘बेल्ट एन्ड रोड परियोजना’ र ‘चीनको पुनरोदय’ को अवधारणाका मुख्य मस्यौदाकार पनि उनैलाई मानिन्छ ।
हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं महाधिवेशनबाट फेरि पार्टी स्थायी कमिटीमा निर्वाचित उनै हुनिङले १९८८ मा ६ महिनाका लागि अमेरिकी विश्वविद्यालयमा भिजिटिङ फेलोका रूपमा अध्ययन र विभिन्न क्षेत्रको भ्रमण गरेका थिए । उनको यो पुस्तकमा जे समेटिएको छ, त्यो त्यही भ्रमणमा देखेका कुरा र उनको प्राज्ञिक अध्ययन तथा विश्लेषणको निचोड हो । उनी अमेरिका भ्रमणबाट फर्किएको केही महिनामै चीनमा उदारवादी व्यवस्थाका पक्षमा तियनआनमेनको चर्चित विद्यार्थी प्रदर्शन भएको थियो । यता आन्दोलन चलिरहेकै समयमा सोभियत नेता गोर्बाचोभले चीनको भ्रमण गरेका थिए र चीनमा उदारवादी क्रान्तिको सम्भावना देखिएको समय थियो । ८६ वर्षे नेता तेङ सियाओ पिङले आन्दोलनमाथि हस्तक्षेप गरेका थिए, पार्टी महासचिव तथा प्रधानमन्त्री चाउ चयाङलाई हटाइएको थियो, आन्दोलन दमन गरिएको थियो र अचानक चिनियाँ समाज र राजनीतिले ठूलो झट्का बेहोरेको थियो । अर्को वर्ष सोभियत संघको पतन भएको थियो । चीन गरिब देश थियो र त्यसबेला पछि गएर अमेरिकासँग चीनले प्रतिस्पर्धा गर्छ भन्ने अनुमान गर्न गाह्रो थियो । त्यस्तो बेला हुनिङले अमेरिका आफ्नै अन्तरविरोधका कारण शक्तिशाली रहिरहन असम्भव छ भनेर भविष्यवाणीजस्तो गरेका थिए । र, पेटबोलीमा चीनले अमेरिकालाई उछिन्नेछ भनेर सन्देश दिन चाहेका थिए । आजभन्दा एकतीस वर्षपहिले हुनिङले लेखेको यो पुस्तक यतिबेला किन बिक्यो भन्ने प्रश्नको उत्तर आजको अमेरिका–चीन सम्बन्धमा आएका उतारचढाव र शक्ति संघर्षमा खोज्न सकिन्छ ।
यो पुस्तकबाहेक पनि उनका ‘द लजिक अफ पोलिटिक्स ः द प्रिन्सिपल्स अफ मार्क्सिस्ट पोलिटिकल साइन्स’, ‘एनलाइसिस अफ मोडर्न वेस्टर्न पोलिटिक्स’, ‘कल्चर अफ कन्टेम्पोरेरी चाइनिज भिलेज फेमिलि’ र ‘द डिबेट अफ लायन सिटी’ जस्ता पुस्तक प्रकाशित छन् । पश्चिमाहरू यिनको वैचारिक शक्ति देखेर आतंकित देखिन्छन् । यहाँ भने पुस्तकमा के छ भन्नेतिर जानु राम्रो होला ।

यो परिचय मात्रै हो
पुस्तकमा जम्मा एघार अध्याय छन् । हरेक अध्याय धेरै उपशीर्षकमा विभाजित छन् । जम्मा छ महिनाका लागि अमेरिका अध्ययन गर्न गएका लेखकले अमेरिकी समाजको अन्तरकुन्तर पसेर त्यसका अनेक आयामको विस्तारमा चर्चा गरेका छन् । उनको समाज विश्लेषणको पद्धति रुचिकर छ । कुनै जटिल विषय छैनन्, अत्यन्त साधारण विषय छन् । पढ्दै जाँदा अमेरिकाका अनेक आयाम आफ्नै आँखाले देखेजस्तो लाग्ने समाजको चित्रण धेरै छ, त्यसलाई अनेक सन्दर्भ सामग्री र विभिन्न लेखकका पुस्तकबाट लिइएका सन्दर्भले पुष्टि गर्न खोजिएको छ । फ्रान्सिस फुकुयामाका पुस्तकहरू पछि कुनै समाज व्यवस्थाबारे यति विस्तारमा चर्चा गरिएको यो पुस्तक मलाई मन पर्नाको अर्को कारण हो– ठूलो कुरा भन्न सानामसिना कुराको चर्चा गरे पुग्छ भन्ने अनुभूति ।
लेखकले प्राक्कथनमा भनेका छन्, ‘मेरो अमेरिका भ्रमणको उद्देश्य यो पुँजीवादी देशलाई बढी विस्तारमा र वास्तविकतामा आधारित रहेर अध्ययन गर्नु थियो । यसको इतिहास, संस्कृति र समाज तथा यसलाई सञ्चालन गर्ने संस्थाहरूका आधारमा अमेरिकालाई हेर्नु थियो र अमेरिकी समाजको राजनीतिक तथा सामाजिक व्यवस्थापन पद्धतिको अध्ययन गर्नु थियो ।’
लेखकले अमेरिकाविरुद्ध अमेरिकाको केही अर्थ खुलाउने प्रयास पनि गरेका छन् प्राक्कथनमा । उनले भनेको छन्– अमेरिकालाई केवल अतिरिक्त मूल्यको शोषणबाट धनी भएको, बुर्जुवा वर्गको अधिनायकत्व भएको देश भन्नु एकपाखे दृष्टिकोण हो, यसैगरि धनको स्वर्ग, पूर्ण समाज भन्नु पनि आदर्शवादी दृष्टिकोण हुन्छ । जहाँ सकारात्मक पक्षहरू छन् त्यहीँ नकारात्मक पक्ष पनि हुन्छन् । अमेरिकाविरुद्ध अमेरिकाको लेखन समाजको अनेक आयाम केलाउँदै अमेरिकाका सम्भावनाहरूबारे विश्वसनीय अनुमान गर्नु हो ।
लेखकले पुस्तकमा आफ्नो भनाइलाई न्याय पनि गरेका छन् । उनले सन् १९८८ मा देखेको अमेरिका कसरी कम्प्युटराइज भएको छ, कानुन र प्रविधिले कसरी समाजलाई नियन्त्रण र व्यवस्थापन गरेको छ भन्ने विषयमा विस्तारमा चर्चा गरेका छन् । कसरी चारवटा ‘सी’ (कार, कल (टेलिफोन), कम्युटर र कार्ड) ले अमेरिकी समाजको व्यवस्थापन गर्न सहज बनाएको छ भन्ने प्रसंग रोचक ढंगले चित्रण गरिएको छ । यसैगरी सहरी सुविधा भएका गाउँ, यहीँको जस्तो नयाँ पुस्ताले छाड्दै गएको कृषि, समाजवादको अवशेषजस्ता लाग्ने सामुदायिक जीवन बिताइरहेका समुदायका चर्चा छन् । आफैं मिहिनेत गरेर आँटे ताकेको प्राप्त गर्ने अमेरिकन स्पिरिट, अमेरिकालाई एकसूत्रमा बाँधेको संविधान र राजनीतिक व्यवस्था, परम्पराप्रति गर्व गर्ने युरोपेली समाज र वैयक्तिक स्वतन्त्रलाई प्रधानता दिएको र परम्पराले नबाँधेको अमेरिकी समाजबीचको तुलना, अमेरिकी राजनीतिक दल तिनको समानता र भिन्नता, राजनीतिक दलहरूको सञ्चालन, संसद्, राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाको आधार र चित्र, लिबरल र डेमोक्र्याट्सहरू, स्वार्थ समूहहरू र कानून, संसद्, संसारभरबाट आइरहेका मानिसले रंगीन बनाएको समाज, विश्वविद्यालय र अनुसन्धान संस्थाहरूको प्रभावकारिताजस्ता समाजलाई निर्देशित र परिचालित गरिरहेका पक्षहरूको विस्तारमा चर्चा गरिएको छ ।
लेखकले व्यक्तिगत रूपमा यौनिक स्वतन्त्रता, रक एन्ड रोल, समलैंगिकताजस्ता विषय स्वीकार गर्ने अमेरिका सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूका विषयमा कसरी अनुदारवादी छ भन्नेजस्ता विषय केलाएका छन् । अनुसन्धान र नयाँ कुराको खोजी अमेरिकीहरूको उन्नतिको कारण रहेको, कामप्रति हरेक व्यक्ति र संस्था अत्यधिक उत्तरदायी रहेको, व्यक्तिगत स्वतन्त्रतालाई प्रधानता दिँदै जाँदा अमेरिकीहरू अत्यधिक रूपमा एकाँकी हुँदै एक्लोपनको सिकार भएको जस्ता विषयमा उनको अध्ययन समाजको भित्री तहसम्म प्रवेश गर्न सफल देखिन्छ । यसैगरी अमेरिकी समाजको गतिशीलताका अदृश्य हात सम्बन्धी उनको विश्लेषण पनि रमाइलो र गम्भीर छ । पुस्तकमा समाज, अर्थतन्त्र, यान्त्रीकरण, पैसाको भूमिकाजस्ता अनेकवली सन्दर्भ र प्रसंग छन् । मेसिनीकरणले समाजको नियन्त्रण र समाजलाई कानुन पालना गर्न बानी पार्न कसरी सहयोग गर्छ भन्ने कोणबाट समाज हेरेका छन् । कर प्रणाली, मानिसहरूलाई शासन गर्न सहयोग गर्ने विज्ञान र प्रविधि, राजनीतिक प्रणाली (कसरी गधा र हात्तीले जनतामाथि शासन गर्छन्), संसद्, सिटी काउन्सिल र राज्यहरू, कर्मचारीहरूको छनोट प्रक्रियाले राज्य सञ्चालनमा पारेका प्रभाव समेटिएका छन् । मेरिटोक्रेसी, कर्पोरेटहरू, धर्म, लाइसेन्सजस्ता समाजमाथि नियन्त्रणका उपकरणका विषयमा उनको दखल र हेराइ उत्तिकै अर्थपूर्ण छन् ।
अमेरिकी सफ्टपावरका विषयमा पनि उनले विस्तारमा चर्चा गरेका छन् । अमेरिकी मूल्य प्रणाली या संस्कृति अथवा जीवनशैलीले दुनियाँभरिबाट मानिसलाई आकर्षित गरिरहेको छ । यसरी संस्कृतिको प्रचार गर्ने माध्यम सैन्य विजय, राजनीतिक विजय पनि हुन सक्छ । तर, मुख्यतया अर्थतन्त्र र शिक्षा त्यस्ता माध्यम हुन्, जसले मानिसहरूको दिल दिमाग जित्न सक्छ । (पेज २७७) ।
एउटा अध्याय सक्रिय विद्वता शीर्षकमा छ । यसले अमेरिकी सरकारका नीतिहरूलाई कसरी निरन्तर रूपमा सक्रिय रहने थिंक ट्याङ्कहरूले प्रभावित गर्छन्, सहयोग गर्छन् भन्ने उल्लेख छ । लेखकले यसलाई विचारको कारखाना नाम दिएका छन् । उनले अमेरिकामा यस्ता विचार कारखानाहरूको स्थापना कसरी, कहिलेदेखि भयो भन्ने खोतल्दै ब्रुकिङ्स इन्स्टिच्युट लगायतका संस्थाबारे पनि विस्तारमा चर्चा गरेका छन् । समग्रमा उनले आफ्नो अध्ययनको निष्कर्षका लागि आँखैले देखेका घटना र विषयहरू, त्यसलाई पुष्टि गर्ने सन्दर्भ सामग्रीहरू तथा विश्लेषण पद्धतिलाई आधार बनाएका छन् ।

अमेरिकालाई अमेरिकाले नै कसरी खान्छ ?
मूल पाठको महत्त्वपूर्ण हिस्सा अमेरिकी समाजका अनेक आयाम खोतल्दै लेखेपछि सारांशमा उनले आफ्नो फैसला दिएका छन् कि अमेरिकी समाज र अमेरिकी शक्तिको भविष्य संकटमा छ । अमेरिकाभित्रै यस्ता तत्त्व छन्, जसले अमेरिकालाई सक्छ । परिवारसम्बन्धी धारणा, व्यक्तिवाद, घर छाड्ने किशोरकिशोरीहरूको संख्या, घरबारविहीन मगन्तेहरूको विशाल उपस्थिति, वृद्धवृद्धाको परित्यक्त जीवन, शिक्षामा रहेको समस्या, वैयक्तिक स्वतन्त्रताको दुरुपयोग, महिला यौनिकता सम्बन्धी दृष्टिकोण, बढ्दो पारपाचुके, लागूऔषधको प्रयोग, रंगभेद, जातीय विभेद, आदिवासीहरूको विनाश, हराउँदै गएको क्लासिक साहित्य तथा संगीत र आध्यात्मिक संकटलाई उनले अमेरिकी समाजको आसन्न संकटका कारकका रूपमा चित्रण गरेका छन् । उनी यहीँनिर आएर सभ्यता र संस्कृतिलाई कुनै पनि राष्ट्रको उन्नतिको दिगोपनको आधार मान्छन् र आगामी द्वन्द्वका लागि केही हदसम्म हन्टिङ्टनको विचारसँग नजिक देखिन्छन् । अमेरिका र जापानको आर्थिक उन्नतीको पछिल्लो अवस्थाको तुलना गरेपछि उनले जापानको उन्नतिको बाटाको प्रशंसा गरेका छन् र त्यसका लागि जापानी संस्कृतिलाई आधार मानेका छन्, जसको अप्रत्यक्ष भनाइ हुन्छ– भविष्यमा चीनले पनि अमेरिकालाई उछिन्ने आधार छ । यसैगरी अमेरिकीहरूको राजनीतिक पद्धतिको उदारवादी मोडलमा रहेका अन्तरविरोधलाई पनि उनी यसको समस्या मान्छन् । उनको विचारमा लक, रुसो र अरूले भनेजस्तो पूर्ण वैयक्तिक स्वतन्त्रता उपभोग गर्नु अव्यावहारिक देखिन्छ । हामीले मानिसकै विषयमा पनि नयाँ अवधारणाले हेर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ (पेज ३२४) ।
अमेरिकन संस्थाहरू, संस्कृति र मूल्य प्रणाली संयुक्त राज्य अमेरिकाका विपक्षमा छन् । अमेरिकासम्पन्न छ, शक्तिशाली पनि छ, तर यसका अहिलेका अन्तरविरोधी अवस्थाहरू विद्यमान रहिरहेमा यसले इतिहासमा
आफ्नो स्थान गुमाउनेछ भन्ने उनको निष्कर्ष हो । यसै विश्लेषणमार्फत उनले अमेरिकाको जुन अस्तित्वको संकटतिर संकेत गरेका छन् त्यसलाई केही वर्षयता अमेरिकामा जाग्दो स्वेत राष्ट्रवाद र दक्षिणपन्थी राजनीतिको शक्ति विस्तारले एकहदसम्म प्रमाणित गर्छ ।
उनको लेखाइ चीनमा पुँजीवादी सुधारका प्रभावहरू देखिनुअघिको थियो । उनको पुस्तक प्रकाशित भएको केही वर्षमै चिनियाँ समाजमा देखिएको आर्थिक विषमता, गाउँबाट सहरमा लर्को लागेका युवायुवती र घर छाडेका किशोरकिशोरीहरू, यौनकर्मीहरूको संख्या र अपराध सञ्जाल (विगत ३ वर्षमा १ करोडभन्दा बढी अपराधसँग सम्बन्धित गिरफ्तारी) हेर्दा स्वयं लेखकलाई चीनको चित्र कस्तो देखिँदो हो भन्ने प्रश्न भने यो टिप्पणी पढेपछि मनमा उठ्छ ।
उनले आफ्नो लेखमा अमेरिकी अर्थतन्त्रको प्रशंसा गरेका त छन्, तर उदारवादी व्यवस्था र वैयक्तिक स्वतन्त्रताका पक्षलाई स्वीकार गर्न चाहेका छैनन् बरु वैयक्तिक स्वतन्त्रतालाई एकहदसम्म अमेरिकाको सम्भावित संकटको कारण मानेका छन् । प्रकारान्तरले उनले पुस्तकमार्फत परम्परागत सांस्कृतिक मूल्यमा आधारित चिनियाँहरूको पुनरोदय र आफैंभित्रको अन्तरविरोधका कारण अमेरिकाको सम्भावित अवनतिको अनिवार्यताको प्रक्षेपण गरेका छन् । जे होस् पुस्तक पठनीय छ, अमेरिकी समाजको चित्र, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिसमेतका अनेक आयामबारे चिनियाँ नेताहरू के सोच्छन् भन्ने विषयको यो एउटा महत्त्वपूर्ण प्राज्ञिक लेखन हो ।

कोसेली

युद्ध विसर्जन

- शैलेन्द्र अधिकारी

 

विश्रान्त अर्थात् सुस्ताएको, थाकेको । थाकेको, सुस्ताएको राजनीतिक विषय ‘विश्रान्त’ महाकाव्यमा लेखेका छन्– कवि रूपक
अलङ्कारले । महाकाव्यमा तेह्र सर्ग छन् । सर्गको आरम्भमा र आवश्यकताअनुसार बीचबीचमा पनि शीर्षक राखिएकाले कथा सलल बगेको अनुभूति हुन्छ । छन्दको प्रयोग, परिवर्तन र अन्य विषयमा ‘विश्रान्त’ मा कविले पूर्वीय काव्यशास्त्रको मान्यता पालना गरे पनि महाकाव्यको नायकको छनोटमा भने त्यो मान्यता पछ्याइएको छैन ।
राजनीतिको खराब वर्तमान यथार्थ चित्रण नै ‘विश्रान्त’ को विषय हो । माओवादी आन्दोलनको सुरुवातदेखि हालसम्मको अवधि यस महाकाव्यको समयावधि हो । कविले महाकाव्यमा आफूले देखेको माओवादी–युद्ध र युद्धको दुखद् विसर्जनका कथालाई पुष्पहारको शैलीमा प्रस्तुत गरेका छन् । आरम्भ ‘आरती’ बाट गरिएको छ ः
उप्रान्त यो देवसभा छ नाउँ/वैकुण्ठ पुग्ने सुपवित्र नाउँ
कुण्ठा यहाँ शून्य र शान्त हुन्छन्/आवेगका वेग मलीन हुन्छन् ।
पूर्वीय काव्यशास्त्रको मान्यताअनुरूप नै महाकाव्यको आरम्भ गर्दै परम्परागत महाकाव्य लेखनको मान्यतालाई अनुसरण गरिएको छ । प्रकृतिको देवत्वकरणबाट आरम्भ गरिएको महाकाव्यमा कविले आफ्नो र देशको समयको गौरवमय विगतको पुनःस्मरण गरेका छन् । समाज रूपान्तरणका सुन्दर सपना बोकेर आन्दोलनमा होमिएको नायकको जीवन सङ्घर्ष र आन्दोलनमा उसको अप्रतिम लगाबले महाकाव्यको कथालाई उचाइतिर लगेको छ ।
कम्युनिस्टहरूका दार्शनिक ‘भगवान्’ कार्ल मार्क्सको एक प्रसिद्ध भनाइ छ– ‘सर्वहाराहरूसँग गुमाउनका लागि एउटा सिक्रीभन्दा बढी केही पनि छैन । तर, जित्नका लागि एउटा सिङ्गो संसार छ ।’ विभेदका पर्खाल, वर्गीय, जातीय र लैङ्गिक असमानता हटाउन अनि समतामूलक समाज निर्माण गर्न सर्वहाराहरू उठ्नुपर्छ त्यसपछि मात्रै विद्रोह
टुङ्गोमा पुग्छ भन्ने आशय किताबको छ ।
महाकाव्यकी नायिका हुन्् ‘चेतना’ । उनी विभेदमुक्त समाज, जनताको व्यवस्था ल्याउने आन्दोलनमा छिन् । उनमा अदम्य साहस र ऊर्जा छ ।
थियो क्रान्तिको मन्द हावा चलेको/दियो युद्धको
ह्वारह्वारी बलेको
भएको थिएँ न्याय अन्याय जान्ने/अँध्यारो उज्यालो म पर्गेल्न सक्ने ।
जनताको बलिदान आफू सत्तामा पुग्न, धन मनग्गे कमाउन, विदेश घुम्न दुरुपयोग गरिएको वर्तमान यथार्थलाई कविले सुन्दर ढङ्गले चित्रण गरेका छन् । यदि आन्दोलनको उपलब्धिलाई व्यक्तिगत स्वार्थका लागि मात्रै उपयोग गर्ने हो भने त्यत्रो आन्दोलनको औचित्य के हो ? राज्य र विद्रोहीका तर्फबाट मरेका र मारिएकाहरूको औचित्य के ? किताबले प्रश्न गरेको छ । राजनीतिक घटनाक्रमको दुःखद पटाक्षेपको समग्र विषय किताबमा उठाइएको छ । मीठो सपनाको कुरूप अन्त्यको कथा ‘विश्रान्त’ ले भन्छ ।
महाकाव्य जल्दोबल्दो वा इतिहासप्रसिद्ध विषयको उठान मात्र होइन । विषयको काव्यिक अभिव्यक्तिमा महाकाव्यको महत्ता हुन्छ । वर्णनकौशलमा जिउँदो हुने काव्यिक विधा हो यो । यस दृष्टिबाट ‘विश्रान्त’ ले महाकाव्यको कलापक्षलाई न्याय गरेको छ । लयात्मक अनुशासनलाई कविले कठोरताका साथ पालना गरेका छन् । अन्त्यानुप्रास अलङ्कारको प्रयोगमा कविले कन्जुस्याइँ गरेका छैनन् । यमक, उत्प्रेक्षा, रूपक, उपमा, अर्थान्तरन्यास, दृष्टान्तलगायत दर्जनौं
अलङ्कारले महाकाव्य विभूषित छ ।
विम्ब, प्रतीक तथा अलङ्कार प्रयोगका हिसाबले किताबका पद्य रङ्गीन बनेका छन् । प्रसङ्गअनुसार ओज, माधुर्य तथा प्रासाद गुणले स्थान पाएका छन् । युद्धका सन्दर्भमा ओज गुण प्रखर भएर आएको छ भने प्रेम वा रतिभावलाई माधुर्य गुणले मलजल गरेको छ ।
रसाभिव्यक्तिका आधारमा महाकव्य शक्तिशाली छ । महाकाव्यमा नौओटै रसको उपयोग गरिएको छ । वीर, शृङ्गार र शान्तरसको वहाब लोभलाग्दो छ । देवकोटाकै भाषा सापटी लिने हो भने महाकाव्य लेखन वर्तमानमा आइसल्यान्डको सर्पजस्तै भइसक्यो । अझ शास्त्रीय मान्यतामा रहेरै महाकाव्य लेख्नु वास्तवमै जटिल विषय हो । र, त्यही दुःसाध्य काम सफलतापूर्वक सम्पन्न गरेका छन् लेखकले ।

कोसेली

रैथाने हिति वृत्तान्त

- मल्ल के. सुन्दर

 

पेसाले विशुद्ध प्राविधिक पद्मसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ को मूल विषय हो– हिति अर्थात् ढुंगेधारा । सचित्र अनि आकर्षक कलेवरमा छापिएको यो किताबमा इतिहास, वर्तमान र भविष्य गरी तीन कालखण्ड लेखिएको छ । यसमा सात मूल शीर्षक छन् । हिति सम्बन्धमा प्रणालीगत कोणबाट नियाल्ने र त्यससँग गाँसिएका अनेकन प्राविधिक सवालका अतिरिक्त अन्य महत्त्वपूर्ण पक्षबारे खोतलखातल गर्ने बौद्धिकस्तरको किताब सम्भवतः यो नै पहिलो हो । लेखकले हिति प्रणालीका समग्र पक्षलाई खोजको मूल विषय बनाएका छन् । तीनै समग्र खोजको अभिलेखीकरण हो, यो किताब ।
स्वाभाविक रूपमा किताबभित्र हितिसँग गाँसिएका प्राचीन कालक्रम, प्रथा, प्रचलन, गुठी, जात्रा, पर्वजस्ता सामाजिक पक्ष यथेष्ट समावेश गरिएको छ । लिच्छविकालअगावै किरात कालबाटै हिति निर्माण सुरु भएको हुन सक्ने अनुमान गरिन्छ, तर तिथिमिति प्रमाणिकताका आधारमा यस प्रणालीको ऐतिहासिक सम्बन्ध मानदेवसम्मै रहेको चर्चा यसमा छ । साथै हिति प्रणालीका कतिपय लोककथन अनि किंवदन्तीका प्रसंगसमेत किताबको पहिलो अंशमा भेटिन्छ ।
बाह्य रूपमा हिति एउटा मकर आकृतिको ढुङ्गाको डुँडबाट निरन्तर पानी झर्ने भौतिक संरचना मात्रै हो । तर, मूलस्रोत जलभण्डारदेखि उपभोक्तासम्म पानीको बहाव व्यवस्थित गर्न अन्तरंगमा गरिनुपर्ने जुन प्रविधि तथा सीपको कुरा छ त्यो नै सबैभन्दा महत्त्वपूर्ण र जटिल पक्ष हो, जसअन्तर्गत पोखरी, राजकुलो, भूमिगत जलभण्डार, नाभिमण्डल, हितिदुं (अथल), निर्मलीकरण
(फिल्टर), हितिगाः, हितिमंगः, हितिध्वं, मंगाः आदि छन् । हजारौं वर्षपूर्व प्रारम्भ भएको हिति निर्माणका क्रममा निर्वाह गरिनुपर्ने यी विविध चरणका प्रविधिजन्य ज्ञान तथा सीप अहिले झन्डै विस्मृतिमा पुगिसके । तर, लेखक विषद् खोजबाट प्रत्येक पक्षको विधि र विवरण मिहिन रूपमा संकलन गर्ने तथा तिनको सार्वजनिक गर्ने काममा सक्षम भएका छन् ।
अध्ययनबाट सिद्ध भएको छ, हिति प्रणाली काठमाडौं उपत्यकाभित्रको एक महत्त्वपूर्ण सांस्कृतिक/प्राविधिक सम्पदा मात्रै नभई हाम्रा पुर्खाले आर्जेको परम्परागत ज्ञानको एउटा उत्कृष्ट दृष्टान्तसमेत हो । पानीको मूलस्रोत पोखरी निर्माण गरिने नगरको उच्च भाग अनि त्यस पानी वितरण प्रयोजनका लागि बनाइने राजकुलो, नाभिमण्डल आदि संरचना तथा तिनका लागि छनोट गरिएका स्थानलाई आजको गणितीय तथा प्राविधिक दृष्टिकोणबाट नियाल्दा ती अत्यन्त वैज्ञानिक तथा उन्नत स्तरका पाउँछौं । त्यसमा पनि पानीको निर्मलीकरण र स्वच्छताका लागि अपनाइएका रैथाने उपाय आश्चर्यलाग्दा छन् । त्यस्तै मंगालका माध्यमबाट सहज निकास तथा सिँचाइ आदिमा पुनर्प्रयोजन गरिने विधि अपत्यारिलो छ ।
मनसुनी प्रणाली भएको उपत्यकाभित्र वर्षायाममा जम्मा हुने अतिरिक्त पानीलाई कसरी सञ्चय गर्ने भन्ने पक्षमा मात्रै होइन, त्यस्ता खेर जाने पानी भूमिमा पुनर्भरण कसरी गर्ने भने प्रविधि पनि हिति प्रणालीअन्तर्गत विकसित भएको पाइन्छ । समग्रमा हिति प्रणाली प्रकृति र वातावरणलाई सन्तुलनमा राखिराख्ने एउटा अब्बल अभ्यास थियो । संसारमा अन्यत्र हाल आएर मात्रै मान्छेहरूले पर्यावरणिय सन्तुलनको चासो जाहेर गरिरहेका सन्दर्भमा हाम्रा पर््वूजले हिति प्रणालीजस्ता माध्यमबाट त्यतिखेरै पर्यावरणिय सन्तुलन व्यवहारमै अपनाइसकेका थिए ।
पानी व्यवस्थापनका सन्दर्भमा पर्सियालगायत भूमध्य क्षेत्र र खाडी मुलुकतिर कन्नात प्रणाली पनि प्रचलनमा थियो । चीनको मध्यएसियाली भूभागमा करजाई र भारततिर वर्षातको पानी तहगत रूपमा संकलन गर्ने बावली प्रणाली नभएको होइन । तर, उपत्यकाभित्रको हिति प्रणाली मौलिक अनि विशिष्ट हो ।
हाम्रा पुर्खाहरूले हिति प्रणालीअन्तर्गत युगौंदेखि अपनाउँदै आइरहेको वर्षातको पानीबाट पुनर्भरण गर्ने अभ्यास सापटी लिएर अहिले चीनले स्पञ्ज प्रणालीको नाउँमा अभियान नै चलाएको छ । लेखक भन्छन्– पानी पुनर्भरणको यस प्रणाली त नेपालको मौलिक ज्ञान हो, हामीले यस रैथाने ज्ञानका सम्बन्धमा आफ्नो प्राधिकारको अन्तर्राष्ट्रियस्तरमै दाबी गर्नुपर्थ्यो ।
विडम्बना, विगतमा यति वैज्ञानिक तरिकाबाट पानी वितरणको प्रणाली विद्यमान रहेको काठमाडौं उपत्यकाभित्र हाल पिउने पानीको चर्को अभाव छ । खानेपानी व्यवस्थापनका हाम्रै यति उन्नत ज्ञान, सीप र प्रणाली विद्यमान छँदाछँदै वैदेशिक सहयोग र प्रविधिका लागि शासकहरू किन भौंतारिँदै होलान् ? लेखकको आरोप छ– राजनीति सत्ता परिवर्तन हुँदै गर्दा शासनमा बस्नेहरूले काठमाडौं उपत्यकाभित्रको हिति प्रणालीजस्तो उत्कृष्ट रैथाने प्रथालाई अवमूल्यन गरेसाथै तिनको संरक्षण गर्न कति पनि ध्यान पुर्‍याएनन् । विकासको नाउँमा गरिएका अव्यवस्थित भौतिक संरचना निर्माण, हिति अन्तर्गतका जलभण्डार, राजकुलो, भूमिगत जलमार्ग, पोखरीमाथिको अतिक्रमणका साथसाथै तीनको संरक्षण, सम्भारमा राज्यको बेवास्ताको पनि लेखकले चर्चा गरेका छन् । त्यस्तै हिति–प्रणाली व्यवस्थापनका लागि भनेर गठित स्थानीय गुथि प्रणालीमाथिको राज्यसत्ताको प्रहारलाई लिएर पनि पुस्तकमा निन्दा गरिएको छ । पुस्तकमा विभिन्न समय सन्दर्भमा स्थानीय तहमा गरिएका पानी आन्दोलनबारे पनि विस्तृत उल्लेख छ ।
पुस्तक मूलतः ललितपुर सहरकेन्द्रित देखिन्छ, यद्यपि यसमा उपत्यकाका तीनै सहरका अन्य हितिहरूका सम्बन्धमा धेरथोर चर्चा पनि गरिएको छ । पानी सम्बन्धित स्थानीय जात्रा, पर्व र सांस्कृतिक पर्वका कुरासमेत पुस्तकभित्र छन् । महत्त्वपूर्ण पक्ष भनेको यो किताब हिति प्रणालीसँग सम्बन्धित संरचनाको पुराना तथा आधुनिक प्रविधिबाट कोरिएका रेखाचित्रको संकलन पनि हो । त्यस्तै यसमा हवाईचित्रहरू पनि समावेश छन् । परिशिष्टका रूपमा ललितपुरका हितिहरूको वर्तमान अवस्थाको सूची पनि छ, जुन अध्येयताका लागि अपयोगी छन् ।
पुस्तकको जोड छ– हिति मूलतः समग्रमा एउटा प्रणाली हो, त्यसलाई मूर्त सम्पदाका रूपमा मात्रै बुझ्दा अपूर्ण हुन्छ । फेरि पनि यस प्रणाली विकासको क्रममा हाम्रा पुर्खाहरूले हितिको भौतिक संरचनासँगै आफ्नो सांस्कृतिक चेत, धर्म अनि दार्शनिक आस्थालाई पनि गाँस्दै लगे । कालान्तरमा हितिको भौतिक संरचना हाम्रा पुर्खाका कला सौन्दर्यका मूर्त अभिव्यक्तिको माध्यमसमेत बने । ललितपुरको मंगः हिति, सुन्धारा अनि पाटन दरबारभित्रको तुसाःहिति यथार्थतः नेपाली कलाकृतिका परिकृष्ट नमुनाहरू हुन । तसर्थ, हितिसँग वास्तुकलाको हाम्रो मौलिक प्रारूप पनि उजागर हुन्छन् । नेपाली मौलिक कलाकृतिका रूपमा पनि यी अद्वितीय सम्पदा हुन् । लेखकले यस पक्षमा पनि कलम चलाउन सक्थे, तर
त्यसो भएन । त्यसो त लेखकले किताब–
लेखनमा धेरै परिश्रम गरेका छन् । र, नेपालय प्रकाशनगृहबाट प्रकाशित यो ‘हिति प्रणाली’ पठनीय र संकलनयोग्य पुस्तक ठहरिएको छ ।

Page 11
कोसेली

बन्जर बस्तीका व्यथा

- भद्र शर्मा

निस्केको थिएँ– जलवायु परिवर्तनले आन्तरिक शरणार्थी बनेका मुस्ताङका गाउँलेबारे रिपोर्टिङ गर्न, कहिल्यै नपुगेको उपल्लो मुस्ताङतर्फ ।
हिउँ पग्लिने समय । जोमसोम काटेदेखि नै कालीगण्डकी उर्लेर बगिरहेको थियो । नदीमा पानीको सतह बढेकाले
पोखरादेखि रिजर्भ गरिएको गाडी छुसाङबाटै फर्काउनुपर्‍यो । अनि उपल्लो मुस्ताङको दामोदरकुण्डतर्फ लाग्नुपर्‍यो ट्रकमै ।
जब कालीगण्डकीको तीरैतीर सेताम्य हिउँको थुप्रोलाई
पाङ्ग्राले कुल्चिँदै ट्रक अगाडि बढ्छ, अलौकिक संसारमा पुगेको अनुभूति हुन्छ । सधैंभरि यहीँ बस्नुपर्ने स्थानीयको जीवन भने कष्टकरै छ ।
बिहान जोमसोमबाट हिँडेका हामी दिन ढल्किनै लाग्दा दामोदरकुण्ड भएर आउने, चराङ खोला र लोमान्थाङ खोलाको त्रिवेणी थानजुङ खोला नजिकै पुग्यौं । तीनवटा खोला मिसिएपछि कालीगण्डकीले नदीको हैसियत बनाउँछ ।
डेढ दशकअघि यहाँ बस्ती थिएन । माथिको धे गाउँबाट विस्थापित भएर पानी खोज्दै आएकाहरूले नयाँ बस्ती बसाए । अहिले दामोदरकुण्ड भएर आउने खोलाको किनार मानव बस्ती भएको छ । ऐलानी जग्गामा घरबास बनाएर बसेका उनीहरू जलवायु परिवर्तनले विस्थापित भएका नागरिकका रूपमा चिनिन्छन् ।
नयाँ ठाउँमा बस्ती बसाएपछि दामोदरकुण्ड भएर बग्ने खोलाको पानी खेतीपाती र पिउन प्रयोग गर्छन् । बसाइँ सरेर आएका गाउँलेले ऐलानी जग्गामा बनाएको नयाँ बस्तीभन्दा माथि युरेनियमको खानी क्षेत्र हो । युरेनियम क्षेत्र भएर बग्ने खोलाबाट आएको पानी पिएर केहीको युवावस्थामै क्यान्सरले मृत्यु भएको आशंका स्थानीयको छ ।
उनीहरूका पुर्ख्यौली बस्ती धे गाउँमा खानेपानीका मुहान सुके । हिउँ पर्ने क्रम कम भयो । खानेपानी र खानेकुराको हाहाकार भयो । पानी नै नभएपछि बाली उब्जिने कुरै भएन । खानेपानी पनि नभएपछि धे गाउँमा बस्दै आएका २६ घरपरिवार अस्तित्व रक्षाका लागि ऐलानी जमिन खोज्दै धे खोला झरे ।
बसाइँ सर्नेमध्येका एक अगुवा थिए, छिरिङ लाम्के गुरुङ । पानी सुकेर अन्न फल्न छाड्यो । पिउने पानी पनि भएन । अनि त्यतिबेला ३० वर्षका छिरिङ पोखरा हिँडे । पोखरामा हिमाली जडीबुटीको व्यापार गरेर जीवन धानियो ।
व्यापार राम्रो भएन । बच्चाहरूको पढाइ खर्च जुटाउन धौ–धौ परिरहेकै थियो । घरभाडा जोगाउन उनी तिब्बती शरणार्थीको शिविरमा गएर करिब १२ वर्ष बसे । ‘म नेपाली नै हो नि, तर खर्च नभएपछि शरणार्थी शिविरमा गएर बसेँ’, उनले बाध्यता सुनाए । सधैं शिविरमै बस्न असम्भव भएपछि थप १२ वर्ष पोखरामा डेरा बसे । जिम्बु, जटामसीजस्ता हिमाली जडीबुटी बेचेर गुजारा चलाए । वर्षौंसम्म पराई ठाउँ बस्दा पुर्ख्यौली थलोको यादले सतायो । सहरमा गुजारा चलाउन कठिन हुँदै गएपछि गाउँ सम्झे । र, झोलीतुम्बा बोकेर आफ्नै बस्ती फिरे । तर, गाउँको अवस्था पहिलेभन्दा झनै बिग्रिसकेको थियो । उनले छोड्दा सुक्न लागेका पानीका मुहान अब सुकिसकेका थिए । गाउँलेहरू पनि पुर्ख्यौली बस्ती छाडेर तितरबितर भइसकेका थिए । सिँचाइ प्रणाली तहसनहस थियो । खेतीयोग्य जमिन बाँझो भयो । पानीको अभावमा पशुपालन व्यवसाय पनि संकटमा पर्‍यो । यस्तो अवस्थामा जाने कहाँ ? जीवन धान्ने कसरी ?
अदृश्य शत्रु बनेको जलवायु परिवर्तनका कारण कुनै बेला करोडौंका मालिक छिरिङ अब सुकुम्बासी भए । जब पानी सुक्यो, घरजग्गा किन्ने कोही भएन । उनी विकल्पहीन भए । पुर्ख्यौली थातथलो छाड्नुपरे पनि सबै स्थानीय नजिकै कतै एकै ठाउँ बस्न पाए सदियौं पुरानो आफ्नो कला, संस्कृति र रहनसहन त जोगाउन सकिन्छ कि भन्ने सोच थियो छिरिङको । एक दिन उनले गाउँले भेला पारेर सामूहिक बसाइँसराइको प्रस्ताव राखे ।
उपस्थित २६ घरका प्रतिनिधिले छिरिङको थानजुङ खोला जाने प्रस्ताव सहर्षै स्विकारे । उनीहरूको परम्पराअनुसार सबैले ताली बजाए । एकले अर्कोलाई टाउकामा पगरी लगाइदिएर सामूहिक बसोबासको प्रस्ताव औपचारिक रूपमै अनुमोदन गरे । सबैले
आ–आफ्ना टहरा बनाए अनि सामूहिक रूपमा स्याउ खेती सुरु गरे ।
छिरिङ त एक पात्र थिए । त्यहाँ विस्थापित सबैका आफ्नै दुःखका कथा छन् । ऐलानी जग्गामा सुकुम्बासी भएर बसेका सबैजसोले जीविकोपार्जनका लागि पोखरा, म्याग्दी, बागलुङमा पर्ने पर्यटकीय क्षेत्रनजिकै अस्थायी रूपमा बसोबास गरी होटल, व्यापार र बसाइँसराइको उपाय नखोजेका पनि होइनन् । पराई ठाउँमा आफ्नो कोही भएन । सधैं अरूकै ठाउँमा बसेर जीवन निर्वाह नहुने बुझाइ र थातथलो बिर्सन नसकेपछि सबै फर्कन बाध्य भएका हुन् ।
केही वर्षअघिसम्म चिसोका कारण खेतीपाती नहुने कालीगण्डकी किनारको नयाँ बस्तीमा अहिले स्याउ फल्न थालेको छ । कति दिनसम्म ३५०० मिटरको उचाइमा यसरी स्याउ फल्ने हो, कुनै टुङ्गो छैन । बढ्दो तापक्रमले हिमरेखा माथिल्लो क्षेत्रमा सीमित हुने क्रममा मुस्ताङको लेते लगायत तल्लो क्षेत्रमा स्याउ फल्न छाडेको छ । त्यहाँ पहिलेझैं हिउँ पर्न छाडेको स्थानीयको भनाइ छ । यही गतिमा तापक्रम वृद्धि हुँदै गए अन्तिम आशाका रूपमा रहेको स्याउ पनि फल्न छाड्ला । त्यस्तो अवस्थामा के गरेर जीविका धान्ने ? विस्थापितको मुख्य पिरलो यही छ ।
कम पानी पर्ने अर्थात् ‘रेन स्याडो क्षेत्र’ का रूपमा परिचित मनाङ र मुस्ताङमा अहिले परम्परागत माटाका घरले वर्षा थेग्न नसक्ने भएका छन् । आरीघोप्टे वर्षाले बाढी–पहिरोको प्रकोप बढिरहेकै छन् । बदलिँदो वातावरणअनुकूल जस्तापाताले छाइएका वा ढलानका घर निर्माण गर्न सुरु गरेका छन् स्थानीयले । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी लगायतका रोगको प्रकोप हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । नयाँ रोगबाट बच्न जोमसोम, कागबेनी र थामजुङका स्थानीयले पनि झुलको प्रयोग सुरु गरेका छन् ।
मेरो रिपोर्टिङको विषय थियो– जलवायु परिवर्तनले आन्तरिक शरणार्थी बनेका मुस्ताङका गाउँले कसरी बाँचिरहेका छन् ? परिवर्तित जलवायुले हिमाली क्षेत्रमा कस्तो असर पारिरहेको छ ? स्थानीयसँग विस्तृत कुराकानी गरेँ । केही प्रसंग आँखैले देखेँ । केही दिन बिताएर मुस्ताङ हुँदै पोखरा झरेँ ।
मुस्ताङको कथा सन् २०२० अप्रिल ७ तारिखका दिन ‘द न्युयोर्क टाइम्स’ को प्रथम पृष्ठमा ‘क्लाइमेट च्यान्ज ग्राउन्ड जिरो’ शीर्षकमा छापियो । कोभिड–१९ को महामारीले विश्व आक्रान्त थियो । त्यसै दिन पनि अमेरिकामा सयौं मानिसले ज्यान गुमाएका थिए । तर, पत्रिकाले जलवायु परिवर्तनको संकटलाई पनि महामारीका रूपमा प्राथामिकतामै राख्यो ।
आईपीसीसी लगायत जलवायु परिवर्तनका विषयमा काम गर्ने संस्थाहरूले नेपालको हिमाली क्षेत्रमा देखिएको जलवायु संकटलाई वकालतको विषय बनाए । सन् २०२१ को वर्षायाममा मुस्ताङ, मनाङमा आएको भीषण बाढीले यो क्षेत्र जलवायु परिवर्तनको दृष्टिले कति जोखिममा छ भन्ने थप तथ्य उजागर गर्‍यो । विभिन्न सञ्चारमाध्यमले हिमाली बाढीका विषयमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेपछि कोप–२६ का अध्यक्ष आलोक शर्माले नेपाल भ्रमण गरे ।
कोप–२६ उद्घाटनमा नेपालको हिमाली क्षेत्रमा आएको बाढी, बेमौसमी वर्षाका कारण अर्बौं बराबरको अन्नबाली क्षति र अन्य जलवायु संकटको प्रसंग निकालेर नेपाली समुदायले भोगेको जलवायु संकटको असरलाई विश्वव्यापी बनाए । कोप–२६ को अवसरमा जलवायु परिवर्तनको जोखिम झेलिरहेका देशका लागि विनियोजन गरेको ७.४ अर्ब डलर समन्वय गर्ने घोषणा गरे ।
जलवायु संकटका पछाडि नेपालजस्तो मुलुकको खास ठूलो योगदान छैन बरु कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभागमा जंगल संरक्षण गरी थोरै भए पनि कार्वन उत्सर्जन कम गरिरहेको छ । विडम्बना नेपालले नै जलवायु परिवर्तनको मार खेपिरहेको छ । हरेक वर्ष जलवायु परिवर्तनबाट उत्पन्न विपद्ले कृषिमा आश्रित गरिब तथा विपन्न जनताको जनजीवन अस्तव्यस्त बनाइरहेको छ ।
भौगोलिक क्षेत्रफलको हिसाबले नेपाल सानो भए पनि ६७ मिटरदेखि पृथ्वीको सबैभन्दा अग्लो विन्दुमा रहेको सगरमाथासम्मै फैलिएको यसको पारिस्थितिकीय प्रणाली विविधतायुक्त छ । संसारका १४ मध्ये आठ अग्ला हिमाल नेपालमै छन् । विश्वको करिब २ अर्ब जनसंख्याले उपभोग गर्ने पानीको मुख्य स्रोत हिन्दुकुश हिमालय क्षेत्रको हिउँ पग्लिएर सकिँदै छन् । हिमालमा हिउँ पग्लने क्रम सुरु भएसँगै सगरमाथालगायतका हिमालमा यसअघि विभिन्न दुर्घटनामा परेर ज्यान गुमाएका हिउँले पुरिएका आरोहीका कंकाल देखा पर्न थालेका छन् । हिउँले ढाकेका क्षेत्र बिस्तारै हिमतालमा परिणत हुँदै छन् ।
पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र संख्या वृद्धि भइरहेको वैज्ञानिकका अनुसन्धानले देखाएको छ । हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने बाध्यता छ । हिन्दुकुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ नेपालमा छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको ५,००० मिटरमाथिको इम्जा हिमतालको पानीको सतह घटाउन मात्रै ७.२ मिलियन अमेरिकी डलर खर्च भएको थियो ।
वैज्ञानिकहरूले जोखिममा रहेका २१ नेपाली हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो बरुण र लुम्दिङ छो गरी चारवटा हिमतालको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन् । राष्ट्रसंघीय विकास कार्यक्रमले गरेको एक अप्रकाशित अध्ययन अनुसार, मनाङको ठुलागी हिमताल मात्र विस्फोट भए पनि तल्लो तटीय क्षेत्रमा करिब ४०६ मिलियन अमेरिकी डलर बराबरको नोक्सान हुने अनुमान गरिएको छ । बढ्दै गएको हिमतालको पानीको सुरक्षित निकास दिन सहज छैन । ठुलागी हिमतालको पानी सुरक्षित ढंगले घटाउन मात्रै करिब ४ मिलियन डलर खर्चको अनुमान गरिएको छ । विस्फोट हुन तयार भएर बसेका हिमतालको सहज निकास दिन लाग्ने वैदेशिक सहायताको जोहो गर्ने प्रयास पनि सफल भएका छैनन् ।
हालसम्म २५ वटा हिमताल विस्फोटनको घटना बेहोरेको नेपाल पछिल्लो समय झन् ठूलो जोखिममा छ । अर्बौंको लगानी गरेका विकास परियोजना हिमताल विस्फोटनले प्रभावित हुन थालेका छन् । सन् २०२१ को जुन महिनामा मेलम्चीमा आएको बाढीले सयौं घर बगायो । हजारौं हेक्टर खेतीयोग्य जमिन बन्जर–भूमिमा परिणत भए । हिमताल विस्फोट भएर उत्पन्न बाढीका कारण मेलम्चीमा भत्किएका संरचना निर्माणमा मात्रै १२ अर्ब आवश्यक रहेको मेलम्ची नगरपालिकाको भनाइ छ । छिमेकी गाउँपालिका हेलम्बुमा पनि सोही प्रकृतिको क्षति भएको छ ।
सबैभन्दा दुःखद त एसियाली विकास बैंकको कम्तीमा ३८७.९ मिलियन अमेरिकी डलर ऋण लिएर काठमाडौंको खानेपानी समस्या सामाधानका लागि तीन दशकपहिले सुरु गरिएको खानेपानी आयोजना अनिश्चित भएको छ । विकासको मानक मेलम्ची खानेपानी आयोजनाको विनाशले अन्य आयोजनाको अनिश्चितताको चिन्ता थपिएको छ । एक अध्ययन अनुसार, अरुण नदी किनारमा निर्माणाधीन १० र निर्माण भइसकेका २ गरी १२ वटा जलविद्युत् परियोजना जोखिममा रहेको निष्कर्षले लगानीकर्ता सशंकित भएका छन् ।
रिपोर्टिङका क्रममा हिमाल, पहाड अनि तराईका बासिन्दासँग साक्षात्कार गर्ने अवसर पाएको छु । त्यसको निचोड छ– हिमालमा हिउँ तीव्र गतिमा पग्लिरहेको छ । पहाडमा पहिरोले कैयौं गाउँ विस्थापित गरेको छ । तराईमा बाढीले खेतीयोग्य जमिन बगाएको छ । र, ती जमिन बन्जर भएका छन् ।
तराईका कतिपय लहलह धान फल्ने फाँटमा हरेक वर्ष बालुवा थुप्रिँदै आएको छ । बाँकेको नरैनापुर यसै वर्ष सुक्खाग्रस्त क्षेत्र घोषणा भयो । विकल्पविहीन भएपछि कृषकहरू वैदेशिक रोजगारीमा निस्केका छन् । जलवायु परिवर्तनको संकट हाम्रो दैलोमै आइपुगेको छ । विगतमा हरेक पक्षलाई प्रभावित गरेको माओवादी ‘जनयुद्ध’ जस्तै समाजको हरेक वर्ग र तप्का जलवायु परिवर्तनको मारमा परिसकेका छन् ।
जल, जंगलमा आश्रित आदिवासी जनजाति, कृषिमा निर्भर जनसंख्याका साथै जुन कुनै पेसा व्यवसायमा आश्रित जनसंख्याले सबभन्दा धेरै जलवायुको असर भोगिरहेको छ ।
माथिका धेरै विषय नीति निर्माताका लागि मिथकजस्तो लाग्ला, तर यो जलवायु परिवर्तनको पीडा वास्तविक हो । जलवायुपीडित स्थानीय अनपढै भए पनि विश्व मञ्चमा धनी देशको नेतृत्वले उठाएको सवालबारे पूर्णतः जानकार छन् । कतिपय राष्ट्रप्रमुखबाट भएका अशोभनीय अभिव्यक्तिप्रति आक्रोशित छन् ।
‘तिनीहरू नकारात्मक दिमाग भएका मान्छे हुन् । यदि उनीहरू हाम्रो समस्याबारे अनभिज्ञ छन् भने हाम्रो गाउँको नाम, ठेगाना पठाइदिनू’, पानी अभावमा पुर्ख्यौली थलो छाडेर मुस्ताङको थानजुङ खोलाछेउ बसिरहेकी छिरिङ बिटी गुरुङ पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तनको असरको विषय नक्कली भएको अभिव्यक्तिको स्मरण गर्छिन्, ‘सके एक महिना नभए एक हप्ता मात्रै यहाँ बसून् अनि थाहा पाउनेछन् हाम्रो समस्या वास्तविक हो कि नक्कली हो ।’

कोसेली

सद्गुरुलाई कोही किन प्रश्न गर्दैन ?

- कुन्साङ

 

हिउँ परेपछि हिमालको चर्चा चलेजस्तै हालैहुम्लाको लिमी चर्चामा थियो । जग्गी वासुदेव (सद्गुरु) नेपालबाटै कैलाश मानसरोवरको दूरदर्शनका लागि लिमी भ्रमणमा आएका थिए (भदौ ८ गते यहाँ आइपुगेका उनी ५ दिन बसे) । त्यसैले चर्चामा थियो लिमी । सद्गुरुका लागि प्रयोग गर्न हवाईमार्गबाट मोटरसाइकल ढुवानी गरेर सिमकोट झारिएको थियो । यो लेख जग्गी वासुदेवको लिमी यात्रा र त्यसपछिका असरमाथि केन्द्रित हुनेछ । यहाँ सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव नै प्रयोग गरिनेछ ।
जग्गी वासुदेव हुम्ला आइपुगेको खबर सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडियासम्मै छाएको थियो । हुम्ली युवाहरूको फेसबुक, इन्स्टाग्राममा उनैको फोटो देखिन्थ्यो । कमेन्टमा उनलाई हुम्ला आएकामा धन्यवाद दिनेहरू निकै थिए ।
खासमा उनीसँगै १२०० भारतीय पर्यटक कैलाश मानसरोवर दूरदर्शनका लागि हुम्ला आउने कुराले बजार तातेको थियो । कोरोनाकालदेखि नै सुस्ताएका होटल व्यवसायी ग्राहक आउने खबरले खुसी थिए । तर, पछि फाइदा त उनै सीमित पहुँचवालालाई भयो । भारी बोकेर गुजारा चलाउनेहरू पनि खुसी हुने नै भए । तर, जहाजको टिकट सम्झेर कत्ति मान्छे दुःखी पनि भए ।
त्यतिबेला हुम्ला हेलिकोप्टरका आवाजले गुन्जायमान थियो । सदरमुकाम सिमकोट र नेपालगन्ज कैलाश मानसरोवरको दूरदर्शन गरी लिमीबाट फर्किएका भारतीय पर्यटकले भरिएको थियो । दिनमै बीसौंपटक हेलिकोप्टरको आवाजले थर्किन्थ्यो– हिमाल ।
लिमी आएका जग्गी वासुदेव तिनै हुन्, जो ‘सेभ सोयल’ नामक अभियान चलाउँछन् । २६–२७ वर्षदेखि माटो जोगाउने अभियानमा छन् उनी । उनको युट्युब भिडियोबाट पनि यो खबर थाहा पाइन्छ । यसै अभियान लिएर यस वर्ष २४ देशको ३० हजार किलोमिटर यात्रा गर्ने आफ्नो योजना उनी सुनाउँछन् युट्युबमा । २४ देशको उनको मेनुमा नेपाल पनि एक हो । उनी हुम्ला आउने क्रममा काठमाडौंमा ‘माटो जोगाऔं’ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ उनले माटो जोगाउने, रूख रोप्ने, नदी बचाउनुपर्ने कुरा गरेका थिए ।
उनका सामाजिक सञ्जाल ‘ह्यासट्याक सेभ सोयल, सेभ रिभर’ ले भरिएको छ । भन्छन् ‘पानी पिउने हरेक प्राणीले नदीहरूको प्राण जोगाउनुपर्छ ।’ उनी सेभ सोयल र सेभ रिभरको कुरा गरिरहन्छन् । तर, भर्खरै उनी पुगेको लिमीको सोयल र रिभर भने ‘सेभ’ भएको छैन ।
...
भदौ दोस्रो साता हामी लिमी पुग्दा अस्ताउँदो घाम ङिङ खोलामा टल्किरहेको थियो । हेर्दाहेर्दै घाम ङिङ तरेर वारि आयो । तर, हामी ङिङ खोला तरेर पारि जान सकेनौं । किनारका हामी किनारमै अड्कियौं । नदीवारि टाढा–टाढासम्म बास पाइने ठाउँ थिएन । बासका लागि नदी तर्नैपर्थ्यो । आउँदै–जाँदै गरेका हेलिकोप्टरतिर हेर्दै एक साथीले भनिन्, ‘हामीलाई पनि हेलिकोप्टरले नदी तारिदिए हुन्थ्यो नि ।’ निकै अनुरोध गरेपछि एउटा डोजरले हजारहजार रुपैयाँमा नदी तारिदिने भयो । डोजर हाम्रा लागि हेलिकोप्टर बनेर आयो । ‘हजार रुपैयाँको हेलिकोप्टर नि चढियो यार,’ नदी तरिसकेपछि यात्री साथीहरू भन्दै थिए । सोच्छु, लिमीका मान्छेहरू कसरी यति ठूलो नदी तर्दा हुन् ? यस्तो अप्ठ्यारो ठाउँमा राज्यको उपस्थिति किन देखिँदैन ? ‘अरू ठाउँ जता गए नि झोलुङ्गे पुल मात्रै देखिन्थ्यो । कुनैकुनै ठाउँमा पुग्दा त लाग्थ्यो, नेपाल झोलुङ्गेले पुलले भरिएको छ । तर, यहाँ यस्तो अप्ठ्यारो ठाउँमा यत्तिका वर्षसम्म पनि पुल किन नबनाएको होला ?,’ एक साथी भन्दै थिए । स्थानीयले ङिङ खोलाको ङिङ (मुटु) दुखाउने कुरा सुनाए । खैर, अब हामी जग्गी वासुदेवतिरै फर्कौं ।
ङिङ खोला र ग्येउ खोला बीचको समथर मैदान टाक्चीमा भारतीय दर्शनार्थीका लागि ठूलो क्याम्प बनाइएको थियो, जहाँ रङ्गीचङ्गी त्रिपाल टाँगेर भान्सादेखि शौचालयसम्मैको व्यवस्था थियो । नुहाउने ठाउँ पनि ग्येउ खोला किनारमै बनाइएको थियो । दर्शनार्थीले नुहाएको फोहर पानी सङ्लो ग्येउ खोलामा मिसिएर बग्थ्यो र खोला धमिलो हुन्थ्यो । तर, यहाँ पनि वासुदेव नदी सफा राख्नुपर्ने र नदीको प्राण
जोगाउनुपर्ने कुरा गरिरहेका थिए । वासुदेवले लिमीको ‘सोयल’ उपभोग गरिरहँदा स्थानीयले कुनै लाभ लिन सकेनन् । स्थानीय भन्छन्, ‘क्याम्प बनाउन पनि उनीहरूकै मान्छे आएका थिए । खाना पनि आफ्नै ल्याएर बनाउँथे । कर पालिकाले उठाए पनि अरू काम त अलि–अलि स्थानीयलाई दिनु नि, त्यो पनि छैन । केही नभए पनि क्याम्प होटल नजिकै बनाएको भए हुन्थ्यो । यहाँका मान्छेलाई बाहिरबाट जत्ति मान्छे आए पनि कामै छैन । उल्टै हाम्रो भूमि, हाम्रो नदी फोहोर बनाएर जान्छन् ।’ ‘ताक्लाकोट बन्द भएपछि कमाउन जाने ठाउँ छैन । आफ्नै बारीेको अन्नले बढीमा तीन महिना पनि खान पुग्दैन’, गाउँलेले यसो भन्दै गर्दा पोहोर साल कम्मर–कम्मरसम्मै हिउँ परेका बेला राज्यसँग चामल माग्न आउँदै गरेका लिमेल (लिमीवासी) हरूको धमिलो तस्बिर सम्झनामा ताजा बनेर आइदियो ।
उवा गोड्न जाँदै गरेकी एक एपी (बजै) भन्छिन्, ‘अचेल खै के भाको ! पानी पर्ने समयमा पानी पर्दैन । हिउँ पर्ने समयमा हिउँ पर्दैन । चौंरीहरूलाई पनि गर्मीमा लाग्ने रोग लाग्छ । समयमा पानी नपरेर यसपालि उवा र आलु पनि राम्रो होलाजस्तो छैन । आफ्नो जमिनमै अन्न फलेन, अरू कसको भर पर्नु ?’
उनको कुराले मानवशास्त्री सुरेश ढकालको एक लेख याद दिलायो, ‘नेपाली सन्दर्भमा भूमिको विशिष्टतालाई आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक पक्षका साथै विकास गरिबी न्यूनीकरण, जीविकोपार्जन आदिको आयाममा पनि बुझ्नुपर्ने हुन्छ । यो वैचारिक र राजनीतिक सवाल पनि हो । भूमि भनेको यसमा आश्रितहरूका लागि आर्थिक उपार्जनको प्राकृतिक स्रोत मात्र होइन, कतिपय संस्कार, सामाजिक सम्बन्ध, पहिचान, राजनीतिक शक्ति र अपनत्व भावको आधार पनि हो (सुरेश ढकाल/हिमाल) । अर्कोतिर भाषिक पहुँच नहुँदा विभिन्न अवसर गुमाउनुपरेको बताउँछन् स्थानीयहरू । ‘क (भाषा) नआएर पनि गाह्रो भयो नि । क आउने भए हामी उनीहरूको कुरा बुझ्थ्यौं, उनीहरू हाम्रो कुरा बुझ्थे, हाम्रो समस्याहरू पनि बुझ्थे कि ? हामीलाई मोन क (खस भाषा) त राम्रो आउँदैन झन् ग्याकारे क (भारतीय भाषा) कहाँबाट आउनु ? क जान्ने मान्छे उँधै ह्योम्बुतिरै बस्छन् । यहीँ काम पाए त उनीहरू पनि यतै बस्थे । क नजान्ने, क
(आवाज ) भएर पनि क नभएका हामी मात्र यता छौं,’ हाल्जी गुम्बामा माने घुमाउँदै गरेका एक युवाले भने ।
बौद्ध र हिन्दु धर्मावलम्बीको धार्मिकस्थल कैलाश मानसरोवरको दूरदर्शन गर्न पुग्ने लिमीलाई सदुपयोग गर्न सके यहाँ राम्रो पर्यटकीय सम्भावना रहेको र यहाँका बासिन्दाले पनि रोजगारी पाउने प्रचुर सम्भावना भएको स्थानीयको बुझाइ छ । लिमीका छिरिङ तामाङ (७९) भन्छन्, ‘तीन, चार वर्ष पहिलेसम्म लाप्चा, ज्याक्प लुङतिर वन चौंरी, वन घोडा र जंगली जनावरको हूल हुन्थ्यो । जबदेखि औलको मान्छेहरू हेली, गाडी के–के लिएर यता आउन थाले त्यसपछि जनावरहरू माथिमाथि गए । अहिले त टाढा–टाढासम्म कुनै जनावरै देखिँदैन । मान्छे उँभो–उँभो चढ्न थालेपछि अग्लो ठाउँमा बस्ने जनावर देखिन छाडे । जनावरहरू ताक्लाकोटतिरै गैजाला भन्ने चिन्ता छ ।’
यो लेख लेख्दै गर्दा सम्झें– लिमीको सुन्दर भूमिमा भेटिएको सुन्दर वन र चौंरीको फोटो । सोच्छु– छिरिङ तामाङले यो कुरा थाहा पाए होला कि नाइँ ?
‘हिमाल सेतै छ । हुम्ला राम्रै छ । रमाइलै छ,’ कैलाशको दूरदर्शन गरि लिमीबाट फर्किंदै गरेका एक नेपाली पर्यटकले लाप्चा वरिपरि हेरेर भने । जलवायु परिवर्तनले हिउँ पगालेर राता पत्थर बन्दै गएका हिमालहरू सधैं सेतै रहलान् त ? के हिमाल सेतै नरहेपछि पनि उनलाई हुम्ला राम्रै, रमाइलै लाग्ला ?
जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने अनुसन्धाताको एक टोली बाटैमा भेटिए । उनीहरू भन्छन्, ‘तापक्रम त बढिरहेको हाम्रो अनुसन्धानले पनि देखाएको छ,’ धूवाँ, धूलो उडाउँदै लाप्चातिर गुडिरहेका गाडीहरूतिर हेर्दै एक जनाले थपे, ‘उसो त जलवायु परिवर्तनमा सबैभन्दा कम असर पार्ने मान्छेहरू यतै हिमालतिर बसेका छन् । तर, के गर्नु ? यता यस्तै छ ।’
जग्गी वासुदेवका हरेक कामको वाहवाही मात्रै गर्ने जमात निकै ठूलो छ । तर, पर्यावरण बिगारेको
आरोप पनि उनलाई बेलाबेला लागिरहन्छ । पर्यावरण सुधार्न
हिँडेका जग्गी वासुदेवलाई उनैका कारण पर्यावरणमाथि पर्ने असरबारे कोही किन प्रश्न गर्दैन ?

Page 12
कोसेली

साढे सात मोनोलग

- शिक्षा रिसाल

 

हातमा तेलको डब्बा लिएर शनिदेवको मन्दिरअघि आधा घण्टा मात्रै उभिँदा पनि म कालीमाता भइसकेकी थिएँ ।
म कतै पनि लाइन लागेर पर्खिरहन सक्दिनँ । ममा धैर्य छैन । शब्दकोशमा ‘अधीरता’ को उदाहरण दिँदा अब मेरो नाम पनि लेखिनेछ ।
भित्र छिरेकी महिला बाहिर निस्किएकी थिइनन् । अति भएपछि भित्र गएर हेरें । उनी त विक्षिप्त भएर शनिदेवको मूर्ति अगाडि रोइरहेकी रहिछन् । उनको भक्कानो सुनेर मेरो मन अमिलियो । उनका श्रीमान्ले सम्हाल्न खोजे पनि सकेका थिएनन् । उनका दुईवर्षे छोरा बाबुआमाबाट बेखबर मन्दिरबाहिर टहलिइरहेको थियो । उनीहरूको कष्टबारे जान्न मन लाग्यो, तर सोध्ने हिम्मत गरिनँ ।
म पनि यसै त त्यहाँ पुगेकी थिइनँ । शनिदेवकहाँ धाउन थालेको यो सातौं पटक थियो । बाधा अड्चन आइरहन्थे । मन जति बेला पनि अशान्त भइरहन्थ्यो । रिसले सीमा नाघेर भित्ता कोपर्थें । जो देखे पनि मुखमा तातो अमेरिकानो फाल्दिऊँझैं लाग्थ्यो । यति विघ्न अशान्त मनलाई विज्ञानले ठेगान लगाउन सकेन । र, म ज्योतिषीको शरणमा जाने निर्णयमा पुगें । राम्रो वर्तमान छाडेर राम्रो भविष्य खोज्दै हिँड्ने अपवाद ममात्रै थिइनँ । हाम्रा यिनै चिन्ताका उद्धारकर्ता बनेर आउँछन् ज्योतिषी । मानौं– उनीहरू जादुगर हुन् ।
ज्योतिषीहरूका किसिम देखेर सुरुमा त मैले चित खाएँ । कसैले चामलको गेडा हेरेरै सारा इतिवृत्तान्त लगाइदिन्छन् । कसैलाई चिनो नै चाहिन्छ । कसैलाई जन्म मिति भए पुग्ने । कोही कोही हुन्छन्— टाढाबाटै अनुहार देख्नासाथ फ्याट्ट भूत, वर्तमान र भविष्य बताइदिने । कोही हुन्छन्— तासझैं कार्ड
फ्याँक्दै भविष्य सेट गरिदिने । कोहीले त कानमा आएर मन्त्रै फुकिदिन्छन् ।
अहिले फेरि डिजिटल ज्योतिषीहरूको बिगबिगी छ । टिकटक, युट्युब, फेसबुक जहाँतहीँ यिनीहरूको व्यवसायको रजगज छ ।
डिजिटल ज्योतिषीहरूको बिगबिगीले गर्दा वर्षौंदेखि रत्नपार्कमा दुनियाँको भविष्यवाणी गर्दै आएका ज्योतिषीहरूको व्यवसाय धरापमा छ । आजकल त पहिलेजस्तो देखिँदैनन् पनि । पारम्परिक ज्योतिष व्यवसायको अस्तित्व अहिले संकटमा छ ।
यस्तै माथापच्ची चलिरहेका बेला इन्स्टाग्राममा फ्याट्टै एक जना ज्योतिषी भेटिए । आर्टिफिसियल इन्टेलिजेन्सलाई पनि मान्नैपर्छ । दिमागमा जे चल्या छ, मोबाइलको स्क्रिनमा उति बेलै आउने । सोच्नेबित्तिकै, ठाउँका–ठाउँ डिजिटल ज्योतिषी मोबाइलको स्क्रिनमा देखा परिहाले ।
‘के तपार्ईंको समय खराब चलिरहेको छ ? छ भने शान्ति पाउनुहोस् । हामीकहाँ भूत, वर्तमान र भविष्यको सबै लेखाजोखा हुन्छ । के तपार्इंलाई ग्रह लागेको छ ? के तपार्ईंका पछि शनिदेव लागेका छन् ? के बारम्बार प्रेममा असफल भइरहनुभएको छ ? के जीवनदेखि नैराश्य जागेको छ ? के तपाईंको स्वास्थ्यमा बारम्बार समस्या आउने गरेको छ ? सबै समस्याहरूको समाधान हामीसँग छ ।’
एक पटक फोन गरूँगरूँ लाग्यो । फोन गरेर चाहिँ भन्ने के ? मन अशान्त हुने, रिस उठ्ने, जो देख्यो कुट्न मन लाग्ने लक्षण त मनोचिकित्सकलाई पो देखाउनुपर्ने हो । त्यही पनि विचार गर्न मन लाग्यो ।
फोन गरें । तीन घण्टी बजेपछि फोन उठ्यो, ‘हेलो ।’
‘हजुर नमस्ते,’ फोन उठ्नासाथ मैले आफ्नो नाम बताएँ ।
‘हजुर, के परेर फोन गर्नुभएको थियो होला ?’ उताबाट भलादमी प्रश्न आयो ।
‘पर्न त केही परेको छैन, यसो आफ्नो दिनदशाका बारे बुझौं भनेर,’ म फिस्स हाँसें ।
‘हजुर यही नम्बरमा हजार रुपैयाँ बैंक ट्रान्सफर गर्दिनू । त्यसपछि तपार्ईंको जन्ममिति, समय–स्थान पठाउनुस् अनि म फोन गर्छु ।’
‘हजार ? महँगो भएन ?,’ मैले एकै सासमा भने । मेरो बार्गेनिङ यहाँ पनि सुरु भयो ।
‘हजुर, रेट नै त्यही हो । आफ्नो सुन्दर भविष्यका लागि हजार रुपैयाँ केही हैन हजुर ।’
अब आफैंलाई चाहिएको हो । ठीकै छ नि त भनेर मैले उनले भनेजस्तै हजार रुपैयाँ हालिदिएँ अनि आफ्नो विस्तृत विवरण पठाएँ । उनले १० मिनेटमा मेरो भूत, भविष्य सबै पत्ता लगाएको हुनुपर्छ— फोन गरें, ‘तपाईंको त २०७२ सालदेखि नै साढे सात चलिराको छ है । २०८२ सालसम्म नै छ । हजुर मेरिड कि अनमेरिड ?’
ओहो !
‘हजुर ज्योतिषी । अब भनिदिनुस् न म मेरिड होला कि अनमेरिड होला ।’
‘अब ज्योतिषलाई १०० प्रतिशत त कहाँ थाहा हुन्छ र ? तर, तपाईंको विवाह भएको भए २५ वर्षमा भइसक्नुपर्ने हो । भएको छैन भने २०८२ सालसम्म हुँदैन नै । फेरि दोस्रो विवाहको योग पनि छ । तपाईंको त पूरै गन्जागोल नै छ । फेरि राम्रो पनि छ । केही समयचाहिँ अलि समस्याजस्तो छ,’ उनले फरर भने । आफ्नो यहाँ एउटै बिहे भएको छैन, दोस्रो कहाँबाट गर्नू ?
उनले थपे, ‘तपार्ईंलाई चाँडै रिस उठ्ने रहेछ । रिस त नाकको टुप्पोमै रहेछ । तर, भाग्यमानी पनि हुनुहुन्छ । यही ग्रहले गर्दा मन अलि अशान्त देखिएको छ । घुम्न असाध्यै मन पराउने मान्छे हो तपार्ईं, आँटिलो पनि... ।’
‘एकछिन, एकछिन’, मैले उनलाई रोकें, ‘म कस्ती छु, के–के मन पर्छ त मलाई सबै थाहा छ के । विगतका कुरा पनि मलाई थाहै छ । घुम्न मन नपराउने त को नै होला र ? मलाई मेरो भविष्य कस्तो हुन्छ, त्यो बताइदिनुस् न ।’
‘ए ए,’ उनी ठुस्किएको मैले फोनमै थाहा पाएँ ।
‘अब भविष्य त खै के भन्नु, राम्रै छ । समस्या के छ त तपाईंको ?’ उनी अलिअलि बम्कन थाले ।
‘समस्या त खासै छैन ।’
‘तपाईंको भविष्य भयंकर राम्रो छ, तर २०८२ सालपछि मात्रै । यसबीचमा अलिअलि स्वास्थ्यमा समस्या आउने देखिन्छ, तर तपाईं मजाले पार पनि गरिरहनुभएको छ । पीपललाई जल चढाउनू । शनिदेवको पूजा गर्नू । शनिबार संकटा मन्दिर गएर कालो कपडा, तील, तोरीको तेल, खुँडा दान गर्नू । तपाईंका समस्या हटेर जानेछन् । तपाईंको जीवनमा बहार आउनेछ ।’
‘अनि ग्यारेन्टी हट्छन् त ? सबै काम बन्छन् त ? हजार रुपैयाँमा त वारेन्टी पनि हुनुपर्ने हैन र ?,’ अलि सानो स्वरमा सोधें ।
उनले उत्तिखेरै जवाफ फर्काए, ‘अब काम नै नगरी त कहाँ आँटेका काम
पुग्छन् र ?’
‘हैन साह्रै अल्छी लाग्छ के मलाई । यसको उपाय के होला ?,’ मैले पनि अलि इरिटेट पार्न खोजें ।
‘अलि जाँगरिलो हुन्छु भनेर डटेर लाग्नुपर्‍यो,’ यो पालि भने उनले स्कुलको नेपाली मास्टरझैं थर्काए, ‘एक महिनासम्म दान–धर्म गर्ने, पीपललाई जल चढाउने, मन्दिरमा बत्ती बाल्ने गर्नुहोस् । पक्कै
सुधार हुन्छ ।’
एउटा पूरै नास्तिक, आधुनिक, ग्रह–नक्षत्र, अन्तरिक्षबारे ज्ञान राख्ने साथीले समेत एक दिन भन्यो, ‘खै, तिम्रो केही होलाजस्तो छैन । यु डन्ट ह्याभ एनी होप । धेरै प्रयास गर्‍यौ । अब एक पटक ग्रह र ताराहरूलाई पनि डाकी हेर न । हाम्रो जीवन नै ताराहरूबाट सुरु भएको हो । वी आर जस्ट अ स्पेक अफ स्टारडस्ट । तिनै ताराहरूले तिमीलाई पार लगाउनेछन् । ज्योतिष विज्ञानलाई मानिसले उडाउने गरे पनि त्यसमा केही न केही सत्यता त होला नि । एकचोटि राम्रो ज्योतिषीलाई सोधी हेर न । केही उपाय, पूजा–सुजा छ कि ? कहिलेकाहीँ तारा, नक्षत्र जुध्दा नमिल्दा पनि यस्तो हुन्छ होला क्या ।’
फेरि अर्को साथी गुहार्न पुगें, जसले एक दिन कुरै कुरामा ‘मेरो त साढे सात चलिराछ’ भनेको थियो ।
हुन पनि उसको कहिले के, कहिले के समस्या परेको पर्‍यै थियो । कहिले दुर्घटना, कहिले परिवार बिरामी, कहिले झगडामा फस्ने, कहिले के दोष आइलाग्ने, कहिले पैसा हराउने, मोबाइल चोरी हुने । उसलाई झल्याँस्स सम्झिएँ । राति ११ बजिसकेको थियो । त्यही पनि म्यासेज गरें, ‘तिम्रो साढे सात चल्या भन्या हैन ? कसरी शान्त भयो भन त ।’
‘हा... हा... हा... पहिला त मलाई खुब उडाउँथ्यौ, अब विश्वास गर्न थाल्यौ ?’
‘यसो एक्सपेरिमेन्ट गरौं भनेर हो,’ म पनि टसका मस हुँदिनँ फेरि ।
‘ल त्यसोभए शनिबार संकटा जाऊ । त्यहाँ के–के चढाउनुपर्छ, त्यहीँ किन्न पाइन्छ प्याकेजमा । अनि दान देऊ त्यहीँ बसेका मान्छेहरूलाई,’ उसले कालो तील, तोरीको तेल, कालो कपडा, नुन, चामल र खुँडा लिएर जान भन्दै थप्यो, ‘अनि शनिबार नै जाऊ है ।’
मैले सोधें, ‘शनिबारचाहिँ शनिदेव त्यहाँ प्रत्यक्ष आएर बसेका हुन्छन् ?’
उसले हाँसेको इमोजी पठायो ।
मान्छे आफू समस्यामा पर्न थालेपछि प्रयोग गरिरहन्छ । डुबिरहँदा परालको त्यान्द्रो भए पनि समात्दो रहेछ । शनिबार शनिदेवको मन्दिर जान मेरा लागि परालको त्यान्द्रोझैं भयो ।
मेरो मिल्ने साथीले मलाई थर्काई, ‘ल ठीकै छ, तँलाई मनको शान्ति भयो, जा । तर, आजकल जसलाई नि त्यही भनिदिने रहेछन् ज्योतिषीहरूले ।’
हो पनि । आजकलका ज्योतिषीहरू पनि के भएका ? अलिकति केही भयो कि साढे सात, कालसर्प योग भनिदिँदा रहेछन् । यस्तो सुन्नेबित्तिकै सातो गइहाल्ने भयो । साढे सात सामान्य पार्न मान्छेले जे पनि गर्ने भए । पूजापाठ, भजन, दान, आरती आदि गरेर दुःख र अशान्ति हट्छ भने किन नगर्ने भन्ने तर्क पनि छ । यो साढे सातको आडमा एउटा छुट्टै अर्थतन्त्र मौलाएको छ ।
कहिलेकाहीँ यसो सोच्छु— यी ग्रह–नक्षत्र, शनिदेव चुपचाप आफ्नो जिन्दगी बाँचे हुन्न ? कति जनालाई सताउँछन् यसरी ? के पाइन्छ हो अरूलाई दुःख दिएर ? देव भनेपछि देवताजस्तो गर्नू नि ! प्रसन्न बनाउनुपर्ने रे उनलाई ! कस्तो ज्यादती हो यो ? अरे यार, आफ्नो जीवन बाँच्न छोडेर कसले कसलाई खुसी बनाउँदै हिँडोस् ?
शनिबार आयो । शनिदेवको अघि गएर चुनौती नै दिन्छु भनी अठोट लिएँ ।
बिहान उठें, नुहाइधुवाइ गरेर घरबाट निस्किएँ । पठाओको दाइ बोलाएँ । शनिबारको खाली बाटो, बाइक मज्जाले हुइँक्याउँदै थिए । झम्सिखेलमा पुगेर झन्डै एउटा ट्याक्सीसँग ठोक्काएनन् । उनले जोडले ब्रेक लगाए । एकछिन ट्याक्सीचालक र पठाओ दाइबीच भनाभन पर्‍यो । मैले चुपचाप हेरिरहें ।
‘म्याम, तपाईंलाई डर लाग्यो ?’
‘हजुर !’
शनिदेवलाई चुनौती मात्रै त दिएकी थिएँ, ट्रेलर देखाइहाले ।
‘म्याम । मेरो त मुटु नै थरथर भो । धन्न केही भएन । मलाई भए त केही थिएन हजुर केही भएको भए त... !’
‘मलाई मात्र हैन । तपाईंलाई पनि केही हुनुभएन नि ।’
‘ह्या म्याम, आफ्नो त साढे सात चलिराको छ । यस्ता घटना त सामान्य नै हुन् । घरी के हुन्छ घरी के हुन्छ ।’
म मनमनै मुर्छा परें । के ‘ल अफ अट्र्याक्सन’ भनेको यही हो ?
संकटा आउनुभन्दा अगाडि नै म बाइकबाट उत्रिएँ । संकटा पुगेपछि भने चकित परें । खुट्टा टेक्ने ठाउँ थिएन । नागबेली लाइन थियो । शनिदेवको अपोइन्टमेन्ट कति घण्टापछि पाइने हो ?
साथीले भनेको प्याकेज याद आयो । पसलमा गएँ । सानादेखि ठूलासम्मका सबै सामान भएको प्याकेज पाइने रहेछ, मूल्यअनुसार । मैले २०० रुपैयाँको प्याकेज किनें । अनि लुसुक्क लाइनमा पसें ।
शनिदेवको अत्याचारले काठमाडौंका आधाभन्दा बढी जनता प्रताडित रहेछन् भन्ने त्यसबेला थाहा भयो । ओहो ! मानिस सबैभन्दा धेरै त देउताहरूबाटै सताइएका रहेछन् ! मनलाई सान्त्वना दिएँ— यु आर नट अलोन मिस शिक्षा ! हुन त देशलाई नै साढे सात लागेको छ । एक त सतीले सरापेको देश, त्यसमाथि साढे सात । प्रधानमन्त्री त ज्योतिषी नदेखाई केही गर्दैनन् । देश पनि पशुपतिनाथले धानेका छन् ।
आफू यसै पनि हिसाबमा गोल । झन् यो ग्रहहरूको गणितको के पत्तो ! यो नमिल्दा जिन्दगी गोलगोल हुनेरहेछ क्या हो ?
अन्तरिक्षयात्रीहरू यानमा बसेर ग्रह–उपग्रहरूमा घुमेर आउँछन्, म भने यहाँ शनिदेवलाई प्रसन्न पार्न नुन, तेल र चामल लिएर बसेकी छु । शनिदेवलाई राहत सामग्री चाहिएको हो भने यूएनलाई सताउनू नि !
कतै भीडबाट आवाज आयो, ‘अब चार घण्टामा पालो आउला ।’
‘ओहो !’ म धैर्य नभएकी मान्छे हुँ । कसरी बस्नु चार घण्टा लाइन ?
मन्दिर परिसरमा आँखा डुलाएँ । सबैका ग्रह दशा कटाउन छरिएर बसेका बाजे, जोगी र बाबाहरू देखें । म खुइँखुइँ एक बाबाको अघिल्तिर उभिएँ । मेरो प्याकेज उनलाई दिँदै भनें, ‘मेरो दशा कटाइदिनुस्, लौ न ।’
‘यसमा राख्नुस्, अनि भेटी पनि राख्नुस्,’ उनले एउटा नाङ्लो मतिर सार्दै भने ।
उनले मेरो गोत्र सोधिसकेर भने, ‘ल, सबै ग्रह दशा कटेर जाओस्, परिवारमा शान्ति छाओस्, आँटेका काम पूरा होऊन् ।’
उनले मेरो जिन्दगीमा अब बहार नै बहार आउने बताएर मुस्कुराए, ‘अब जानुस्, ठीक हुन्छ ।’
सोधें, ‘मेरो दशा कट्यो त अब ? सकियो ?’
उनले शान्त स्वरमा भने, ‘बत्ती बाल्नुस् अनि शनि मन्त्र जप गर्नुस् ।’
‘हस्’ भन्दै म फेरि लाइनमा फर्किएँ । मान्छेहरू अधिकांशले कालो लुगा लगाएका थिए । कालो कुर्था, टिसर्ट, प्यान्टमा सजिएर कतिपयले टिकटक भिडियो पनि बनाइरहेका थिए । कसैले डिजाइनदार काला कुर्था सिउरिएका थिए । केही धनीहरू कालै गाडीमा आएका थिए । उनीहरूलाई देखेर चित खाएँ— यस्ता धनीलाई पनि लाग्छ होला र साढे सात ?
आपत् पर्दा वर्ग विभेद नहुने रहेछ । करोडपतिहरू पनि त्यही मन्दिरमा भिख माग्दै थिए । अनि रेगुलर त भइहाले । शनिदेवको कृपाले हामी सबै भिखारीहरू एकजुट भएका थियौं । आमिर खानको ‘पीके’ फिल्म सम्झेर म बेलाबेला झसंग हुन्थें । कसैले हाम्रो फिर्की त लिइरहेको छैन ? मेरी दिदीले जमानामा गजलको एउटा पंक्ति लेखेकी थिई—
‘मैले जति दुःख पीडा तँ आफू सहेर हेर्
ढुंगाभित्र किन लुक्छस् ? सक्छस् मान्छे भएर हेर्’
कडा !
भन्न त भन्छन् नि— देवता र दानव दुइटै मान्छे आफूभित्रै हुन्छन् । तर, म त साँच्चिकै शनिदेवलाई चुनौती दिन नै गएकी थिएँ । तर, लाइन सर्ने नामोनिसान थिएन ।
अझ न्युरोड, रत्नपार्कतिर मागेर बस्नेहरूको शनिबार त संकटामा सिफ्ट पर्ने रहेछ । उनीहरूलाई पनि भ्याइनभ्याई थियो । लाइनमा बसेका बेला हातमा पट्टी बाँधेर, खुट्टा खोच्याउँदै आएपछि हरेक मान्छेलाई ग्लानि हुने भइहाल्यो ।
सोचें– वर्षौंदेखि शान्त बसेको पत्थरको मूर्तिलाई जति पनि पैसा चढाउन तयार हामी वर्षौंदेखि अशान्त भएर बसेका हाड–छालावाला मान्छेलाई चाहिँ वास्ता गर्दैनौं । कस्तो धर्म हो यो ?
अर्को मनले भन्यो— वाह ! क्या बबाल लाइन ! तर, हात फैलाउँदै आएका बाजेलाई दिने धेरै पैसा मसँग पनि थिएन । पुगनपुग २० रुपैयाँ दिएँ । त्यसपछि अर्की बच्ची आएर उभिई । उसले दस रुपैयाँ पाई । त्यसपछि उसको टोली सबै मअघि आए । म एकछिनमै भुक्कड भइसकेकी थिएँ । के गरौं कसो गरौं भयो । ठट्टेउलो पारामा मैले भनें, ‘मलाई नै देऊ, मसँग छैन ।’
त्यतिबेला लाग्यो— ‘एभ्री पर्सन इज अ पोटेन्सियल बेगर !’
लाइन अझै सरेन । कालो कपडावाला प्याकेज पनि दान गरिसकें । अरूको हातमा जस्तो पूजा सामग्री मसँग थिएन । लाइन के बस्नू ? सम्झिएँ— भैंसेपाटीमा पनि त शनिदेवको मन्दिर छ । त्यहाँ त यस्तो भीड हुँदैन त । त्यहाँ गएर च्यालेन्ज गर्छु शनिदेवलाई । म केही सीप नलागेर शनिदेवको केन्द्रीय विभाग गएकै हो । दान गरेकै हो । अपोइन्टमेन्ट पाउन घण्टौं लाग्ने देखेपछि म लोकल ब्रान्चतिर हुइँकिने सोचें । पहिला
आफ्नो समस्या सुनाउने त स्थानीय सरकारलाई पो हो त ! अनि मात्र प्रदेश ।
यही सोचेर म स्थानीय वडा नं. २५ भैंसेपाटीको शनिदेव मन्दिरतिर गएँ । त्यहाँको शनिदेव मन्दिर प्रायः खाली नै हुन्छ । कहिलेकाहीँ यस्तै कालो गाडीमा धनाढ्यहरू आएर बत्ती बालेको देखेकी छु । म फर्केर भैंसेपाटी पुगें । शनिदेव एक्लै थिए । उनको अगाडि मुख देखाउनै लाज लाग्यो ।
शनिदेवले बोलेजस्तै लाग्यो, ‘आखिर मकहाँ नै आउनुपर्‍यो हैन अन्तिममा ? चाहिने मै रहेछु । देशमा संघीयता आइसक्यो । खै हामी देउताहरूलाई संघीयता ? अझै पनि केन्द्रीयता ? अझै पनि केन्द्रकै बोलवाला ? हामी छेउछेउका मन्दिरहरू कहिलेसम्म हेपिनुपर्ने ? केन्द्रका मन्दिरहरूमा हजारौं पैसा चढाउन हुने । त्यहाँ घण्टौंको लाइन हुन्छ । हामीकहाँ चाहिँ सुनसान ? तर, अन्तिममा चाहिने हामी नै हौं, याद राख ।’
म पनि के कम ! शान्त बसेका शनिदेवअघि बर्बराउन थालें, ‘शनिदेव ! अत्ति नै भएन र ? यदि तिमी छौ भने तिमीले गर्दा मेरो जीवनमा एकबाट अनेक समस्या थुप्रिएका हुन् । मैले जे प्रयास गरे पनि सफल हुन सकिनँ । म कसैलाई खुसी पार्न सक्दिनँ । प्रेमीहरू पनि कोही टिकेनन् । घरमा पनि सधैंको किचकिच । ममाथि दया गर्न सकेनौ । किन कदम कदममा मेरो परीक्षा लिन्छौ ? तिमीलाई प्रसन्न बनाउन किन अनेकथरी प्रयास गर्नुपर्ने मैले ? आफू खुसी नभई–नभई अर्काको टाउकामा आएर किन बस्नु ? तिमी आफ्नो बाटो लाग ।’
एकछिनमै छाती पड्कियो मेरो ।
धड्कनको रिलेदौड लामै चल्यो । अलि शान्त भएपछि फेरि बम्किएँ, ‘कि आमेन–सामने आऊ, कुरा गरौं । बहस गरौं । यस्ता ग्रह उपग्रहको आडमा मेरो जिन्दगीमाथि ज्यादती गर्ने अधिकार छैन तिमीलाई । यु अन्डरस्ट्यान्ड ? आऊ सामने । आज हिसाबकिताब नगरी छाड्दिनँ । कि म छैन, कि तिमी छैनौ ।’
आजकल अलि बढी फिल्म हेर्ने भएर हो कि— भावनामा बहकिइहालें ।
‘ए नानी, यहाँ आएर शनिदेवको मन्त्र पो जप्ने हो त । के–के भन्नुभएको ?,’ पछाडिबाट एक जना बाजेले हाँस्दै बोलाए । उमेरले यस्तै ७० वर्ष जति होलान् ।
‘हजुरको पनि साढे सात चलिरहेको हो ?,’ मैले नम्र भएर सोधें ।
उनले मुस्कुराउँदै भने, ‘पहिला २० वर्षसम्म चलेको हो भन्थे ज्योतिषीहरू । अब शनिको पूजा गर्दागर्दा बानी लागिसक्यो । एउटा अनुशासन बनिसक्यो । साथी भइसके शनिदेव अब,’ उनी हाँसे ।
ती बाजे भित्र छिरेर शनिदेवको मन्त्र जप्न थाले—
निलान्जना समाभाषम रविपुत्रम यमग्रजम
छाया मार्तन्ड्यस तम नमामी शनिस्चरम
उनका कुरा सुनेर म त्यहाँबाट निस्किएँ । उनले बजाएको घण्टको आवाज पछिसम्म गुन्जियो ।
अहिले यो चौथो हप्तामा ती महिलाको आँसु देखेर मलाई शनिदेवसँग लास्ट रिस उठिरहेको छ । अनन्तकालदेखि चुपचाप तमासा हेरिरहेका शनिदेवले कुनै दिन पत्थर फोडेर सुन्लान् हाम्रो विलौना ?
कारिगडले शनिदेवको सानदार मूर्ति त बनाए, तर कान खोल्नै बिर्सिए कि ?

(केही व्यक्तिगत, केही उदाहरणीय घटनाका आधारमा लेखिएको)

कोसेली

पलि स्वां, अजू स्वां, च स्वां

- प्रशान्त माली

ललितपुर ठेचोमा नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्रा चलिरहेको छ । ०७९ सालभरि चल्ने जात्रा अवधिभरि विभिन्न २८ पर्वपूजा चलाउनुपर्छ । प्रत्येक पूजामा फूलको विशेष महत्त्व छ । यहाँ जात्रा, पर्व र फूलबीचको सम्बन्धमाथि प्रकाश पार्ने जमर्को गरिनेछ ।
विजयादशमीका दिन ठेचोको नवदुर्गा गण पाटन दरबार क्षेत्र पुग्छ । र, गणले लिच्छवि राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पुरानो तलेजु) लाई भैरव, काली र बाराहीद्वारा नृत्यसहित फूलमाला चढाउँछ । उक्त माला खः तथा मूः नामक फूलबाट उनिन्छ, जुन लेले टीकाभैरवस्थित वनबाट ल्याइन्छ । त्यसरी खड्ग जात्राका दिन चढाएको फूल जनैपूर्णिमाका लागि विशेष मानिन्छ ।
कुम्भेश्वरका पुजारीहरू गणले चढाएको त्यो फूलमाला सुकाएर धूलो बनाउँछन् । र, जनैपूर्णिमा कुम्भेश्वरमा मेला भर्न आएका भक्तजनलाई पहेँलो, रातो कपडामा त्यो धूलो पोको पारेर जनैसँगै हातमा बाँधिदिन्छन् । त्यसदिन जनै बाँध्ने भक्तजनको घुइँचो लाग्छ ।
भनिन्छ, मनमानेश्वरी देवी भगवतीकी रूप हुन् अनि भगवतीले नवदुर्गा गणलाई साथै लिएर दैत्यमाथि विजय प्राप्त गरेकी हुन् । त्यसैले विजयदशमीका दिन भैरव, काली र बाराहीलाई फूलमाला चढाएर बधाई दिने गरिन्छ । कुम्भेश्वरका पुजारी माधवश्याम शर्मा भन्छन्, ‘प्राचीनकालमा उपत्यकाका माली जाति तन्त्रविद्यामा निपुण थिए । अहिले पनि ठेचो, धापाखेलमा तन्त्रविद्या जान्नेहरू बाँकी छन् । नेपाल भाषामा ‘गथु’ भनिने माली जातिलाई तान्त्रिक देवताका अंश मानिन्छ । यस जातिको शरीरमा चाँडै देवता चढ्ने मान्यता छ । त्यसैले नवदुर्गा देवगणहरूले उनेको माला तन्त्रसाधना गरी हातमा बाँधे दुःखकष्ट, रोगव्याधि, बाधा अड्चनबाट मुक्त हुने जनविश्वास छ ।’
नवदुर्गा नाच अहिलेसम्मै माली समुदायले नै सञ्चालन गर्दै आइरहेको छ ।
नवदुर्गा मन्दिरमा अक्षयतृतीया, गठेमंगल, पञ्चदान, दसैं, तिहार र योमरीपूर्णिमामा विशेष पूजा हुन्छ । प्रत्येक पूजामा छुट्टाछुट्टै प्रजातिका फूल राखिन्छ ।
अक्षयतृतीयामा अजू स्वां भनिने जाइफलको फूल चढाइन्छ । नेपाल भाषामा अजू स्वांलाई यसरी व्याख्या गरिएको छ, ‘चैत्र महिनानिसें जेठ महिना तक ह्वइगु गणेद्यःया अतिकं यःगु धयातःगु चिचीफ्वःगु छताजि स्वां ।’ अर्थात् चैतदेखि जेठसम्म फुल्ने गणेश देवतालाई अति नै मन पर्ने भनिएको स–साना आकारको एक प्रकारको फूल हो यो । यो फूल पहेँलो रङको हुन्छ । पात जहिल्यै हरियो हुन्छ । र, यो फूलको बोट २ देखि ४ मिटरसम्म अग्लो हुन्छ ।
गठेमंगल, पञ्चदान र घटस्थापनामा क्रमशः पलि स्वां, च स्वां र नल्चा स्वां (जमरा) चढाउनुपर्छ । पलि स्वां पोखरीमा फुल्ने कमलको फूल हो । च स्वां भनेको चमेली फूल हो । नेपाल भाषामा यो फूलबारे भनिएको छ, ‘तसकं ह्वालाह्वाला बास वइगु चिचीफ्वःचागु तुयूगु स्वां ।’ अर्थात् जाडोयाममा पुराना पात झर्ने यो वनस्पतिको धेरै बास्ना आउँछ ।
श्राद्धको अन्तिम बेला पितृको बिदा गर्दा यो फूल चढाइन्छ । यसलाई नाम लिन नहुने वनस्पति पनि भनिन्छ । यो फूल भीमरथारोहणका बेला पनि चढाइन्छ । म्हपूजा, कंगः अजिमाको पूजा र श्रद्धाञ्जली अर्पणमा पनि यो फूल चढ्दछ ।
योमरीपुन्ही जात्राका बेला चढाइने फूललाई लः स्वां भनिन्छ । नेपालीमा यसको नाम हो– लौठ सल्ला । रातो मत्स्येन्द्रनाथ, सेतो मत्स्येन्द्रनाथ, कीर्तिपुरको इन्द्रायणी देवी जात्रामा पनि यो फूल चढाउने परम्परा छ । ‘तान्त्रिक विधिपूर्वक पूजा गर्दा भूतप्रेत, ग्रहदशा पन्छाउन अनिवार्य रूपमा फूल राख्नुपर्ने धार्मिक मान्यता छ । नेपालमा पाइने कतिपय फूल पञ्चसुगन्ध (श्रीखण्ड, कस्तुरी, कुमकुम, केशरी, सुनपाती) आउने खालका पनि छन् । यी फूलले दिमागको नराम्रो तरङ्ग हटाउन मद्दत गर्छ,’ नवदुर्गा गुठीका नाइके भक्तलाल माली भन्छन्, ‘पुर्खाहरूले फूलको महत्त्व दर्साउन चाडपर्वसँग यसलाई जोडे । कतिपय वनस्पतिको नामसमेत अब त हराइसकेका छन् ।’
नवदुर्गा मन्दिरमा महाधूप बनाउन प्रयोग गरिने फूल, रातो मत्स्येन्द्रनाथ जात्रामा प्रयोग हुने मू स्वां (एक प्रकारको फूल) र पचली भैरव जात्रामा चढाइने कनाय् स्वां लोप हुने क्रममा छन् । ‘फूलको एउटा प्रजाति नै हराउनु भनेको केवल वनस्पति लोप हुनु होइन पुर्खाले हस्तान्तरण गरेर गएका संस्कृति–परम्परा पनि हराउनु हो । वनस्पतिमाथिका हाम्रा ज्ञान नाश हुनु हो,’ भक्तलाल भन्छन् ।
प्रत्येक १२ वर्षमा नाचिने काठमाडौंको भद्रकाली खड्गसिद्धि, पचलीभैरव, कीर्तिपुरको बाघभैरव र प्रत्येक वर्ष नचाइने भक्तपुरको नवदुर्गा नाचमा पनि अनेक प्रजातिका फूल चढाइन्छन् ।