समाचार
प्रश्नको घेरामा उम्मेदवार
- गंगा बीसी,देवनारायण साह
(विराटनगर) - मोरङ–४ का माओवादी उम्मेदवार अमनलाल मोदी विराटनगर–३ शंकरपुरमा मतदाताको प्रश्नको उत्तर दिइरहेको अवस्थामा बिहीबार भेटिए । स्थानीय शिक्षक अरुणकुमार कर्णले संसद्मा यसअघि त्यही क्षेत्रबाट निर्वाचित मोदीलाई चिया पसलमा भएको जम्काभेटमा प्रश्न गरे, ‘यो पाँच वर्ष तपाईंसँग हाम्रो भेट भएन, बोलाएका बेला पनि आउनुभएन । यो क्षेत्रमा विकासका काम कति गर्नुभयो ? अब हामीलाई जवाफ दिनुपर्छ ।’ यति मात्र होइन उनले संसद्मा प्रस्तुत भएको विषय पनि उठाए, ‘तपाईंले संसद्मा कतिपय विषयमा खेलेको भूमिका पनि हामीलाई चित्त बुझेको छैन ।’
उनको प्रश्न सुनेपछि मोदी शान्त देखिए । केही क्षण सोचेर उनले भने, ‘गएको पाँच वर्ष सबै मतदाताकहाँ आउन सकिनँ तर क्षमा दिँदै फेरि पनि मत दिनुहुने विश्वास गरेको छु ।’ स्थानीय क्याम्पसका विज्ञान शिक्षक कर्णले थप प्र्रश्न नगरी शुभकामना दिए । हरेक दिन मतदाताका यस्तै प्रश्न सामना गरिरहेको मोदीले सुनाए ।
कर्णसँगै अरू उम्मेदवारसँग पनि मौका पाउनासाथ यस्तै प्रश्न गरिरहेका थिए । कांग्रेस महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाका प्रतिस्पर्धी, मोरङ–६ का उम्मेदवार शेखर कोइरालाले पनि एक महिनायता मतदाताका यस्तै प्रश्नको सामना गरिरहेका छन् । ०७४ मा एमालेका लालबाबु पण्डितसँग पराजित भएका उनले यस पटक पनि उनीसँगै प्रतिस्पर्धा गर्दै छन् । यस पटक कोइरालाभन्दा बढी प्रश्नको सामना पण्डितले गर्नुपरेको छ । मतदातासँग राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा ठूला प्रश्न छैनन् । ‘यो पाँच वर्षमा हाम्रा दुःख किन घटेनन् ? पाँच वर्ष कहाँ हराउनुभयो ? शिक्षा, स्वास्थ्य, विकासका वाचा कता हराए ?’ मतदाताका साझाजस्तै प्र्रश्न छन् ।
मतदाताले प्रश्न गर्नु स्वाभाविक भएको कोइरालाको भनाइ छ । ‘मतदाताको प्रश्नदेखि डराउने होइन, हामीले चित्तबुझ्दो उत्तर दिने कोसिस गर्नुपर्छ, जितेर गइसकेपछि पूरा गर्न सक्नुपर्छ,’ विराटनगर–११ पिचराचोकमा उनले कान्तिपुरसँग भने, ‘जनताले विकास, विकास, विकास भनिरहेका छन् । मुख्य चासो र प्र्रश्न पनि यही छ ।’ मतदाताका यस्ता प्रश्नको चित्तबुझ्दो उत्तर दिन संघ र प्रदेशका उम्मेदवारलाई हम्मे परिरहेको छ । ‘मतदाता विगतमा भन्दा बढी बुझ्ने छन्, हामीले यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ मोदीको भनाइ छ, ‘पाँच वर्षपछि तिमी कुन मुख लिएर आयौ ? भनेर सोध्दा अलि अप्ठ्यारोचाहिँ हुँदोरहेछ ।’
मोरङ–१ का एमाले उम्मेदवार एवं निवर्तमान सांसद घनश्याम खतिवडाको बुझाइमा मतदाताले प्रश्नसँगै आशा राखेका छन् । ‘उहाँहरूले अलि बढी गाउँ आइदिनुपर्यो भन्नुभएको छ, जनताका धेरै प्रश्न र सँगसँगै आशा अपेक्षा पनि राखेको पाएको छु,’ उनले भने ।
मोरङ–३ मा राप्रपाकी उम्मेदवार अभिनेत्री रेखा थापाले पनि तीन दशकदेखि जित्दै आएका दलमाथि प्रश्न उठाएर मत मागिरहेकी छन् । ‘तीन दशकदेखि पुराना दलले राजनीतिलाई व्यापार गर्ने माध्यम बनाए, युवालाई विदेशिन बाध्य बनाए, महँगो अस्पतालमा उपचार र महँगो निजी स्कुलमा पढ्न बाध्य बनाए,’ उनले कान्तिपुरसँग भनिन्, ‘मेरो राजनीतिक लडाइँ पुरानाविरुद्ध नयाँ मात्र होइन, जिल्लाको समग्र विकासका लागि हो ।’ उनले गठबन्धनका सुनील शर्मा र एमालेका भानुभक्त ढकालसँग प्रतिस्पर्धा गर्दै छिन् ।
सत्ता गठबन्धन र एमालेका उम्मेदवारले मतदाताको प्रश्न छल्ने कोसिस गरिरहेको अधिवक्ता सञ्जु साहको बुझाइ छ । ‘उम्मेदवारहरू मतदातासँग नजिकको सरोकार नभएका विषयमा जटिल भाषण गर्छन्, मतदातालाई त्यसले खासै छोएको छैन,’ उनले भनिन्, ‘उनीहरूलाई त रोजगार, राम्रो सामुदायिक विद्यालय र अस्पताल चाहिएको छ । विगतमा गरेका वाचा कति पूरा भए भन्ने लेखाजोखा चाहिएको छ ।’
मतदाता भने घरदैलोमा आउने उम्मेदवारलाई सीधा प्रश्न गर्ने र चित्तबुझ्दो जवाफ खोज्ने तयारीमा छन् । मोरङको ग्रामथान गाउँपालिका–२ खुनियाखट्टाका तीन पुस्ता मतदाता (हजुरबुबा, छोरा र नाति) को फरक–फरक चुनावी सरोकार छ । विराटनगर–विराटचोक मार्गछेउमा ऐलानी जग्गामा बस्दै आएका ७० वर्षीय बेचन माझीेले पञ्चायती व्यवस्थादेखि नै मतदान गर्दै आएका छन् । राम्रो सडकछेउमै घर भए पनि आफू बस्ने जमिनको उनीसँग लालपुर्जा छैन । ‘चुनावका बेला लालपुर्जा दिन्छौं भने, अहिलेसम्म दिएका छैनन्,’ उनले भने । जीवनको उत्तरार्द्धमा नम्बरी जग्गामा बस्ने उनको धोको छ । खुनियाखट्टामा मात्र करिब ५ सय परिवार भूमिहीन रहेको उनका छोरा ४४ वर्षीय श्रीप्रसाद माझीले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० मा गाउँपालिकाले भूमिहीन, सुकुम्बासीसम्बन्धी कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेको छ । श्रीप्रसादसँग राम्रो स्वास्थ्य उपचार, छोरोछोरीलाई शिक्षा, रोजगारसम्बन्धी प्रश्न छन् । ‘ठूला दलका उम्मेदवार सबै विकास आफैंले गरेको भन्छन्, मत माग्छन्, यस पटक हाम्रो चित्त बुझाउने उम्मेदवारलाई मत दिन्छौं,’ उनले भने । श्रीप्रसादका २२ वर्षीय छोरा अभिषेकले लोक सेवा आयोगको तयारी गरिरहेका छन् । पहिलो चरणको परीक्षा पास गरेका उनलाई सबैभन्दा बढी चासो रोजगारीको छ । हजुरबुबा, बुबातिर देखाउँदै उनले भने, ‘उहाँहरूले धेरै दुःख पाउनुभयो, त्यही दुःख हामीले पाउनुपर्ने अवस्था ठीक होइन,’ उनले भने, ‘हामीलाई रोजगारी चाहियो नि ।’ टेलिभिजन र सामाजिक सञ्जालमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हेरेका उनलाई त्यसको प्रभाव परेको रहेछ । ‘केजरीवालले जे भन्छन्, त्यही गर्छन्, हाम्रा नेताले धेरै बोल्छन्, थोरै काम गर्छन्,’ उनले थपे ।
ग्रामथान नेताचोकमा विद्युतीय रिक्सा चलाएर गुजारा गर्ने एक हूल चालकले निर्वाचनसम्बन्धी गफ चासो मानेर सुनिरहेका थिए । उनीहरूको सरोकारमध्ये एउटा थियो– भित्री सडक कच्ची भएका कारण यात्रु ल्याउन लैजान कठिन भएको । रिक्सा मालिकहरूले ‘राम्रो’ उम्मेदवारलाई मतदान गर्ने बताए । ‘हामी मतको मालिक हो, जसलाई मन लाग्यो, उसलाई दिने हो,’ ५६ वर्षीय विप्ता साहले भने । पवनकुमार साह, राजु र लालवीर सरकारले पनि सकेसम्म गाउँको काम गर्नेलाई छान्ने बताए ।
कान्तिपुरसँगको कुराकानीमा अधिकांश युवा मतदाताले नयाँ उम्मेदवार खोजेको पाइयो । उनीहरूले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङको नाम लिए । उनीहरूमध्ये धेरैको मत छ, पुरानाले काम गरेनन् वा नयाँलाई बाटो पनि छाडेनन् । हुन पनि मोरङमा प्रमुख दलका उम्मेदवारहरू कुनै न कुनै निर्वाचन लडिसकेका छन् ।
विराटनगर सिटी कलेजमा पढिरहेकी प्राप्ति लुइँटेलले आफ्नो छनोट युवा हुने सुनाइन् । ‘बालेन शाहजस्तो युवा उम्मेदवार हुनुपर्छ, यहाँ युवालाई खोजेर मत हाल्छु,’ मोरङ–३ मा पहिलो पटक मतदान गर्ने तयारी गरेकी उनले भनिन् ।
एमाले मोरङका निर्वाचन परिचालन कमिटी संयोजक बाबुराम कार्कीले मतदाताले नयाँ उम्मेदवार खोजी गरेको आफूले पाएको बताए । ‘नयाँ उम्मेदवारको पक्कै पनि खोजी छ तर जितेर गइसकेपछि काम गर्न सक्छन् कि सक्दैनन् भन्ने पनि मतदाताको प्रश्न छ,’ उनले भने । गैरसरकारी संस्थाको क्षेत्रमा काम गरिरहेका उमेश विश्वकर्माले राजनीतिक दलका मुद्दाले मतदातालाई खासै नछोएको बताए ।
मोरङ–१ का एमाले उम्मेदवार घनश्याम खतिवडा र कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बू प्रतिस्पर्धामा छन् । ०७४ मा खतिवडाले लिम्बूलाई हराएका थिए । उर्लाबारी र लेटाङ नगरपालिका, केराबारी र मिक्लाजुङ गाउँपालिका समेटिएको क्षेत्र १ मा ३७ वटा वडाका १ लाख २३ हजार ६१५ मतदाता छन् । स्थानीय तह निर्वाचनमा एमालेले १९, कांग्रेसले १५ र माओवादीले ३ वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतमा एमालेको ३३ हजार ५६, जसपाको ४९३, कांग्रेसको ३१ हजार ५४३, माओवादीले ५ हजार ८१९ र एकीकृत समाजवादीको १ हजार ७५ छ । यहाँ १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मोरङ–२ मा सुनवर्षी, रतुवामाई नगरपालिका, रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिचरे नगरपालिकाको वडा ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा १, २ र ३ समेटिएको छ । स्थानीय तहका २९ वटा वडामा १ लाख २४ हजार ७२९ मतदाता छन् । एमालेले १६, कांग्रेसले ११ र माओवादीले २ वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारले पाएको आधारमा एमाले ३१ हजार ३३७, कांग्रेस २८ हजार ६१७, माओवादी ७ हजार ३०१, जसपा ४ हजार ५१०, लोसपा ४९० र एकीकृत समाजवादीको १८० मत छ । यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी सुजाता कोइराला र एमाले गठबन्धनबाट जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, राप्रपाका गोपाल दाहाललगायत १३ जना चुनावी प्रतिस्पर्धामा छन् ।
मोरङ–३ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका सुनील शर्मा, एमालेका निवर्तमान सांसद भानुभक्त ढकाल, राप्रपाकी रेखा थापासहित १५ जना चुनावी मैदानमा छन् । पथरीशनिश्चरे नगरपालिकाको १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७, बेलबारी नगरपालिकाको १, २, ३, ४, ८, ९, १० र ११ र सुन्दरहरैंचा नगरपालिकाको १, ८, ९, १०, ११ र १२ गरी कुल २६ वटा वडामा कुल १ लाख ४९ हजार ८३३ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले ११, एमालेले १४ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका छन् । स्थानीय तहमा वडाध्यक्ष उम्मेदवारहरूले प्राप्त गरेको आधारमा कांग्रेसको ३६ हजार ९७९, माओवादीको ७ हजार ३७३, एकीकृत समाजवादीको १ हजार ८५५, एमालेको ३७ हजार ४१०, जसपाले ३८३ र राप्रपाको २ हजार २२२ मत छ ।
मोरङ–४ मा सत्तारूढ गठबन्धनबाट माओवादीका निवर्तमान सांसद अमनलाल मोदी, एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, राप्रपाका रवि रिजाललगायत १७ जना प्रतिस्पर्धामा छन् । १ लाख १० हजार ९३ मतदाता रहेको यस क्षेत्रमा विराटनगर महानगरको १, २, ३, ८, १० र १९, बेलबारीको ५, ६ र ७ नम्बर वडा र ग्रामथान र कटहरी गाउँपालिकाको २३ वटा वडा समेटिएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले ३, माओवादीले १, एमालेले १८ र जसपाले १ वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारहरूले पाएको आधारमा कांग्रेसको २० हजार ५५२, माओवादीको ९ हजार ६३०, एकीकृत समाजवादीको १ हजार १८५, लोसपाको १४३, एमालेको २५ हजार ५० र जसपाको ३ हजार ३६५ मत छ ।
मोरङ–५ मा सत्तारूढ गठबन्धनबाट माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डल, जसपाका राजकुमार यादव, राप्रपाका रेवतबहादुर थापा, एमालेकै बागी योगेन्द्र मण्डलसहित १६ जना मैदानमा छन् । १ लाख ४९४ मतदाता रहेको यो क्षेत्रमा विराटनगर महानगरको वडा १३, १४, १५, १६, १७ र १८, रंगेली नगरपालिकाको वडा ४, ५, ६ र ७ र धनपालथान र जहदा गाउँपालिका गरी २४ वटा वडा छन् । गत स्थानीय निर्वाचनमा कांग्रेसले १३, एमालेले १० र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् । वडाध्यक्षहरूले प्राप्त गरेको आधारमा कांग्रेसले १९ हजार ४९८, एमालेले १५ हजार ६८०, माओवादीले ११ हजार २१६, एकीकृत समाजवादीले ६०८, जसपाले ९४९१ र लोसपाले ८० मत छ ।
मोरङ–६ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका नेता शेखर कोइराला, एमालेका निवर्तमान सांसद लालबाबु पण्डित, राप्रपाका गोपाल क्षत्रीसहित १६ जना उम्मेदवार छन् । सुन्दरहरैंचा नगरपालिकाको वडा २, ३, ४, ५, ६ र ७, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४, ५, ६, ७, ८, ९, ११ र १२ गरी २० वटा वडा समेटिएको यो क्षेत्रमा १ लाख २६ हजार ७६१ मतदाता छन् । २० वडामध्ये कांग्रेसले ११, माओवादीले २, एमालेले ५, जसपा र स्वतन्त्रले १/१ वटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको आधारमा कांग्रेसको २८ हजार ४२८, एमालेको २५ हजार २३६, माओवादीको ५ हजार ३५६, जसपाको ३ हजार ७३५, एकीकृत समाजवादीको २ हजार ३५० र लोसपाको १ हजार १०९ मत छ ।