You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

ओलीकै जिल्लामा ३१ हजार सुकुम्बासी

एमाले सरकारले गठन गरेको भूमिहीनका समस्या समाधान आयोगमा ११ लाख ८० हजार परिवारले निवेदन दिएका थिए
७७ जिल्लामा एमाले कार्यकर्ता भर्ती गरेर एकलौटी गरेको भन्दै देउवा सरकारले बनायो नयाँ आयोग, फेरि आवेदन संकलन
- गंगा बीसी,अर्जुन राजवंशी
झापाको गौरीगन्ज–५ चिल्लाहारास्थित सुकुम्बासी बस्ती । तस्बिर: अर्जुन राजवंशी/कान्तिपुर

(गौरीगन्ज, झापा)
सबै प्रमुख दलले भूमिहीन सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने विषय प्रमुखतासाथ उठाएका छन् । अझ एक कदम अघि बढेर एमालेले घोषणा गरेको छ, ‘दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ ।’ तर २०४८ पछि पटक–पटक सरकारको नेतृत्व गरेको एमालेकै अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ३१ हजारभन्दा बढी भूमिहीन र सुकुम्बासी छन् ।
राष्ट्रिय भूमि आयोगको कार्यविधिले भूमिहीनलाई मुख्यतः तीन समूहमा राखेको छ । ‘आफ्नो वा परिवारको स्वामित्वमा जग्गाजमिन नभएको र आयआर्जन, स्रोत वा अन्य प्रयासबाट जग्गा प्रबन्ध गर्न असमर्थ व्यक्ति तथा आश्रित परिवारलाई’ कार्यविधिले भूमिहीन सुकुम्बासी मानेको छ । ‘सरकारी, ऐलानी, पर्ती वा सरकारी अभिलेखमा वन जनिएको क्षेत्रमा लामो समयदेखि घरटहरा बनाई बसोबास गरेका परिवारलाई’ अव्यवस्थित बसोबासी मानिने उल्लेख छ । त्यस्तै घरजग्गा नभएका दलितलाई भूमिहीन दलित भनिएको छ ।
एमाले नेतृत्वको सरकारले ०७७ वैशाख २ मा देवी ज्ञवालीको नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । आयोगले करिब एक वर्षसम्म देशभरबाट आवेदन माग्दा ११ लाख ८० हजार परिवारले भूमिहीन सुकुम्बासी भएको भन्दै निवेदन दिएका थिए । आयोगको प्रतिवेदनअनुसार झापामा मात्र १० हजार १ सय ८० भूमिहीन सुकुम्बासी र २१ हजार १ सय ३७ अव्यवस्थित बसोबासी छन् ।
भूमिहीनको समस्या समाधान गर्नुको सट्टा दलहरूले यो समस्या जीवित राखेर यसैका नाममा राजनीति लम्ब्याउन खोजेको आरोप लाग्दै आएको छ । एमालेले गठन गरेको आयोगमा ७७ जिल्लाका कार्यकर्तालाई सरकारी सुविधासहित जागिर दिएको र भूमिहीनलाई आफ्नो चुनावी पासोमा पार्न खोजेको भनेर प्रतिपक्षले आलोचना गरेको थियो । गतवर्ष कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले समस्या समाधानलाई होइन, आयोग विघटनलाई प्राथमिकतामा राख्यो । गतवर्ष असार २९ मा बनेको सरकारले साउन १९ मा ज्ञवाली नेतृत्वको आयोग खारेज गरी भदौ ३० मा केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरेको थियो ।
ज्ञवाली आयोगले एक वर्ष लगाएर संकलन गरेको निवेदन र तथ्यांकलाई अस्वीकार गर्दै नयाँ आयोगले फेरि नयाँ शिराबाट आवेदन मागेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा आयोगले पछिल्लो पटक भदौ २९ मा तेस्रो सूचना जारी गरेको छ । यसरी सरकार पिच्छे भूमिहीनलाई हैरान बनाउने प्रयास जारी छ ।
०७४ मा निर्वाचित एमाले सरकारले ०७७ मा मात्र भूमिहीन समस्या समाधान आयोग गठन गरेको थियो । एमाले सरकारको अवधिमा १२ हजार परिवारलाई जग्गाको स्वामित्वसहित आवास सुविधा उपलब्ध गराएको घोषणापत्रमा उल्लेख छ । आगामी दुई वर्षमा सुकुम्बासी समस्या समाधान गर्ने दाबीसहित घोषणापत्रमा भनिएको छ, ‘भूमि व्यवस्थाको आधारभूत संरचनाका अन्तर्निहित समस्यालाई समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरिनेछ  ।’
एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्र गौरीगन्ज–५ का कृष्णकुमार गनगाईं भने हरेक चुनावमा जग्गाधनी पुर्जा, पक्की घर दिने आश्वासन मात्रै पाएकाले अब भने विश्वास गर्न गाह्रो भएको बताउँछन् । भन्छन्, ‘मैले यसअघि दुई पटक भोट हालें, जग्गाधनी पुर्जा पाउने आस थियो, अब त आस पनि छैन ।’ गौरीगन्ज चिल्लाहारामा मात्रै करिब १ सय ५० परिवार भूमिहीन सुकुम्बासी रहेको उनी बताउँछन् ।
एमाले पोलिटब्युरो सदस्य एवं ओलीका निर्वाचन परिचालन संयोजक देवेन्द्र दाहाल भने भूमिहीन सुकुम्बासीलाई रोजगारसहित व्यवस्थापन गर्न पार्टी गम्भीर रहेको बताउँछन् । ‘दमकमा मात्र ३० परिवारलाई आवास बनाइदिएर हामीले यो अभियान सुरु गरिसकेका छौं । एमाले सरकारले सुरु गरेको अभियान गठबन्धन सरकारले रोकेको छ, अब हाम्रो सरकार बनेपछि यो फेरि सञ्चालन हुन्छ,’ उनी भन्छन् ।
झापा–५ मा नागरिकताविहीनहरूको समस्या पनि चर्को छ । गौरीगन्जका जीवनलाल सिंहकी छोरी रीनाकुमारीले १२ कक्षा पास गरेकी छन् । तर, उच्चशिक्षाको बाटो रोकिएको छ । किनकि जीवनलालजस्ता जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने गरी संसद्बाट पारित भएको विधेयक राष्ट्रपति कार्यालयबाट निष्क्रिय भएको छ । नागरिकताविहीन रीनाकुमारीले उच्चशिक्षाका लागि भर्ना पाएकी छैनन्, न उनको नामा बैंक खाता खुल्नेछ, न सरकारी जागिरका लागि निवेदन दिन सक्नेछिन् । यतिसम्म कि सरकारी परिचयपत्र वा नागरिकता नभएकाले उनकी छोरी जहाज चढ्न पनि पाउँदिनन् ।
नागरिकताबिना उनीजस्ता युवाले सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र र पासपोर्ट बनाउन पनि पाएका छैनन् । ज्याला–मजदुरी गरेर छोरीलाई १२ कक्षा पढाएका जीवनलाल मौका मिल्यो भने उम्मेदवारलाई सोध्ने सुरमा छन्, ‘यही माटोमा जन्मेकी मेरी छोरीले नागरिकता नपाउने कारण के हो ? युवाहरूको भविष्यमाथि नेताहरूले किन राजनीति गरेका हुन् ?’
स्थानीय शिक्षक महेन्द्रप्रसाद ठाकुरका अनुसार गौरीगन्ज–५ चिल्लाहारामा १२ कक्षा पास गरेका करिब ६० युवा नागरिकताबाट वञ्चित छन् । उनीहरूका बुबाआमाले जन्मका आधारमा नागरिकता पाएका छन् । ‘नागरिकता नहुँदा युवाको मनोबल खस्किँदो रहेछ, यहाँ काम पाउँदैनन्, अनि भारत पलायन हुन्छन्,’ ठाकुर भन्छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गतवर्ष ०७८ जेठ ९ मा जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा पनि जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्था थियो । पछि अदालतले संसद्बाट कानुन बनाएर मात्रै नागरिकता दिन र अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, ५ असोज ०७९ मा संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन् । विधेयकमा यसअघि जन्मका आधारमा नेपालको नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने प्रबन्ध गरिएको थियो ।
एमाले नेता दाहालले भने जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई नागरिकता दिन पार्टी नेतृत्वको सरकारले अध्यादेश ल्याएको बताए । ‘एमाले नागरिकता पाउनबाट वञ्चित युवालाई नागरिकता दिनुपर्ने मान्यता राख्छ, हाम्रो सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको छोटो अवधिमा करिब ५ सय नागरिकले नागरिकता पाएका थिए,’ उनले भने, ‘त्यसपछि सर्वोच्चले अध्यादेश कार्यान्वयन नगर्न आदेश थियो ।’ पछिल्लो पटक सत्ता गठबन्धनले संसदीय समितिमा रोकेर सहमतिविपरीत अध्यादेश अघि बढाएका कारण अवरोध भएको दाबी गरे ।
हुलाकी राजमार्गछेउको सुकुम्बासी बस्तीमा १० कक्षापछि करिब ८० प्रतिशत विद्यार्थीले विद्यालय छोड्ने गरेको ठाकुर बताउँछन् । उनका अनुसार त्यसको मुख्य कारण उनीहरूको कमजोर आर्थिक अवस्था र नागरिकता नपाउने समस्या हो ।
यो क्षेत्रमा ओलीको उम्मेदवारी नयाँ होइन । ०६४ बाहेक ०४८ देखि यहाँ उनैले जित्दै आएका छन् तर देखिने गरी विकासका काम ओलीले दमकवरिपरि मात्रै गरेको देखिन्छ । गौरीगन्ज गाविसका पूर्वअध्यक्ष देवीप्रसाद राजवंशीले दक्षिणी क्षेत्रका बासिन्दालाई विगतदेखि नै ओलीले बेवास्ता गरेको आरोप लगाए । ‘दमकवरिपरि ठूला विकास देखाएर दक्षिण क्षेत्रका गरिब आदिवासीलाई आश्वासन मात्र दिँदै आएका छन्,’ उनले भने ।
गत आमनिर्वाचनमा झापा–५ को प्रदेशसभा १ बाट निर्वाचित एमाले नेता हिक्मत कार्की प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री भए । योबीचमा दमकजस्ता सहरमा ठूलो चहलपहल भए पनि पिछडिएको बस्तीमा न ओलीको नजर पर्‍यो न कार्कीको । गौरीगन्ज हुलाकी राजमार्गमा पर्ने रतुवा नदीमा १० वर्षअघि पुल निर्माण सुरु भए पनि अलपत्र छ । उत्तर क्षेत्रमा भने इलामको चुलाचुली जोड्ने गरी रतुवा नदीमा, मोरङको मधुमल्ला जोड्ने मावामा, मोरङको आममारी जोड्ने र सुतमारीदेखि राजघाट जोड्ने पक्की पुल बनेका छन् । एक किलोमिटरको सेतुमारीबाट गौरादह जोड्ने रतुवामा अर्को पुल करिब ३ वर्षको अवधिमा निर्माण भयो । तर, दक्षिणका पुल भने अलपत्र छन् ।
ओलीको घर भएको दमकमा १ अर्ब ५६ करोडमा २५ तले भ्यु टावरको १८ तला बनिसकेको छ । दमकमै करिब भव्य सभागृह, अन्तर्राष्ट्रियस्तरको रंगशाला शिलान्यास भइसकेको छ । दमक, कमल गाउँपालिका र गौरादह नगरपालिका सीमामा करिब दुई हजार दुई सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । दमकमै विशेषज्ञ चिकित्सकसहितको अस्पताल पनि छ । आधुनिक पशुबजार पनि दमकमै छ ।
एमालेसँग चुनावी तालमेल गरेका जसपा झापा अध्यक्ष दीपेनवाला राई ओलीको क्षेत्रमा अद्भुत विकास भएको भन्न नसकिने टिप्पणी गर्छन् । ‘केपी ओलीले आफ्नो क्षेत्रमा भ्यु टावर, केही पुल, बाटो बनाउनुभएको देखिन्छ, यसलाई अद्भुत विकास भन्न मिल्दैन,’ भन्छन्, ‘आधारभूत वर्गको जीवनस्तर उकास्ने काम भएको खै ?’ एमाले पोलिटब्युरो सदस्य दाहाल भने विभेद नगरिएको दाबी गर्छन् । ‘झापामा उत्तर–दक्षिण जोड्ने सडक सलसल भइसके, स्वास्थ्यचौकी, विद्यालय पनि नयाँ बनेका छन्, सबैतिर विकास भएको छ,’ उनी भन्छन् ।
गौरीगन्ज हुलाकी राजमार्गमा पर्ने रतुवा खोलामा पुल बनाउन ओलीले पटक–पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै यसमा कर्मचारी संयन्त्रको कमजोरी रहेको दाहालको आरोप छ । ‘देउवा सरकार बनेको पनि १५ महिना भइसक्यो, खै त काम सुरु भएको ?’ दाहालको प्रश्न छ । ओलीका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले एमालेको असमान विकासको मार दमकबाहेक अरू स्थानीय तहका बासिन्दाले पाएको बताए । ‘शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकतामा भन्दा अनावश्यक पूर्वाधारमा ओलीको चासो छ,’ उनले भने, ‘त्यसबाट उनीहरूका व्यक्तिलाई कमाउने माध्यम हुन्छ ।’

सधैं बल्झिरहने रतुवाको चोट
०६८ सालअघि झापाको कमल गाउँपालिका–७, झर्काहाका वीरबहादुर चौहानको अढाई बिघा जग्गा थियो । हाल उनको केही खेतमा रतुवा बगिरहेको छ, केहीमा काँसघारी मौलाएको छ । रतुवा खोलाले कटान गर्नुअघि उनलाई मज्जाले खान पुग्थ्यो, अहिले दुई छाक टार्न पनि मुस्किल भएको छ ।
 ‘रतुवाले हामीलाई उठीबास लगायो, खोला पस्नुअघि खेतको उब्जनीबाट खान पुग्थ्यो, दुःख थिएन,’ उनले सुनाए । हाल उनी स्थानीय सामुदायिक स्कुलमा कार्यालय सहयोगीको जागिर खाएर गुजारा चलाइरहेका छन् । कमल गाउँपालिका झापा–५ अन्तर्गत पर्छ । यो क्षेत्रबाट यस पटक पनि एमाले अध्यक्ष ओली प्रतिनिधिसभामा उम्मेदवार छन् । ०४८ देखि यही क्षेत्रको प्रतिनिधित्व गर्दै आएका ओलीले रतुवालाई पाता कसेर नियन्त्रण गर्ने पटक–पटक दोहोर्‍याइरहन्छन् तर रतुवाको कटान र डुबान दशकौंदेखि उस्तै छ । पीडितको संख्या बर्सेनि थपिँदो छ । यस पटक पनि ओलीले यसलाई चुनावी मुद्दा बनाएका छन् ।
झर्काहाका केशव र दीपक बस्नेतको तीन बिघा खेतमा पनि हाल रतुवा खोला बगिरहेको छ । बस्तीमा रतुवा पसेपछि बस्नेत परिवार विस्थापित भएर सिक्किम पुगेको स्थानीय दखुवा उरमले जानकारी दिए । ‘नेता रतुवालाई पाता कस्छु भन्छन्, उल्टै रतुवाले जनतालाई पाता कसरे लडाइरहेको छ,’ ६६ वर्षीय उरमले भने, ‘रतुवा नियन्त्रण गर्ने कुरा पञ्चायतदेखि नै सुन्दै आएको छु, अझै पूरा भएको छैन ।’ एमाले नेता दाहालले भने रतुवा नियन्त्रण आयोजनामार्फत क्रमिक रूपमा काम भइरहेको दाबी गरे ।

भ्यु टावर वरिपरि जग्गा दलालको रजगज
दमक दापगाछीमा भ्यु टावरको १८ तले पक्की संरचना बनिसकेको छ । पाँच बिघा जग्गामा १ अर्ब ५६ करोडको लागतमा बनिरहेको टावरलाई २५ तला पुर्‍याउने गरी स्टिलको संरचना बन्नेछ । भ्यु टावर बनाउन स्थानीयले एक धुरदेखि दुई कट्ठासम्म जग्गा अनुदान दिएका छन् । एक बिघाभन्दा कम जग्गा हुनेले पनि अनुदान दिए तर टावर बन्नुअघि नै जग्गा दलालले त्यहाँ ठूलो क्षेत्रमा जग्गा खरिद गरिसकेका छन् । दलालको रजगज बढेपछि हाल यो क्षेत्रमा जग्गा किनबेच रोक्का गरिएको छ । कांग्रेस उम्मेदवार अधिकारीले भ्यु टावरको सट्टा जीवनस्तर उकास्ने आयोजना बनाएको भए ठीक हुने बताए । ‘भ्यु टावर बनाएपछि ठेकेदार, जग्गा व्यवसायी र वरिपरि जग्गा हुनेलाई फाइदा हुने भयो,’ उनले भने, ‘यो बनाउने सुनेपछि मैले यसको सट्टा मेडिकल कलेज बनाउनुपर्ने आवाज उठाएको थिएँ ।’

पहिचान अस्वीकार: रंगशाला सारियो
स्थानीय आदिवासी, जनजातिको समाधिस्थल मासेर आदिवासी जनजाति रंगशाला बनाउने सहमतिविपरीत मदन भण्डारीको नाम राखेर बजेट आएपछि विरोध भयो, अनि अन्तै सारियो । कमल–५ पाडाजुँगीस्थित रंगशालाको नाम परिवर्तन गरेपछि आदिवासी जनजाति समुदाय ओलीप्रति आक्रोशित भए । ०६६ सालदेखि पाडाजँॅगीमा करिब ३५ बिघा जमिनमा रंगशाला निर्माणको काम सुरु भएको थियो । किरात समुदायको समाधिस्थल रहेको उक्त स्थानमा रंगशाला निर्माणका लागि आदिवासी जनजाति समुदायका ७ सय ४५ वटा चिहान उत्खनन गरिएका थिए ।
चिहान उत्खनन गरेर निर्माण गरिने रंगशालाको नाम ‘आदिवासी रंगशाला’ राख्ने सहमति जुटेको थियो तर ०७२ मा ओली नेतृत्वको सरकारले रंगशालाको नाम ‘मदन भण्डारी’ रहने उद्घोष गर्‍यो । स्थानीयले आदिवासी र सरकारले मदन भण्डारी नामकरण गरेपछि रंगशाला विवादित बन्यो । त्यसै बखतदेखि यहाँका आदिवासी जनजाति र एमालेबीच विवाद बढेर गएको हो । दुवै पक्षको परस्पर विरोधी अडानका कारण बजेट विनियोजन भए पनि रंगशाला निर्माण हुन सकिरहेको छैन । प्रदेश सरकारले रंगशाला निर्माणका लागि ०७९/८० मा एक करोड विनियोजन गरेको छ । ओलीले दमक उत्तर क्षेत्रको वनको जग्गामा अर्को रंगशाला शिलान्यास गरिसकेका छन् । आदिवासी जनजाति महासंघ झापाका पूर्वअध्यक्ष पारसमणि राईले रंगशालाको नाममा ओलीले आदिवासी जनजाति समुदायको भावनामाथि खेलबाड गरेको आरोप लगाए । ‘ओलीको मनमा लाग्यो, त्यसैले रंगशालाको नाम परिवर्तन गरिदिए,’ उनले भने, ‘ओलीले यताको रंगशाला विवादित बनाएर रतुवा खोलापारिको जंगलमा अर्को अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रिया अघि बढाएका छन् ।’ उनले पुर्खाको चिहान उत्खनन गरेर ३५ बिघा जमिन अलपत्र हुन नदिने बताए । एमालेले भने रंगशाला निर्माणमा राजनीतीकरण भएको बताउँदै आएको छ ।

चुनावमा ओलीको हात माथि
झापा–५ मा चारवटा पालिका छन् । सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनको समान दुई–दुईवटा पालिकामा नेतृत्व छ । यो क्षेत्रमा २९ वटा वडा छन् । स्थानीय निर्वाचनमा एमालेले १८ वटा वडा जितेको छ । सत्ता गठबन्धनले ९ तथा राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक वडा जितेका छन् । १० वटा वडा रहेको दमक नगरपालिकामा एमालेले ७ र राप्रपाले एउटा वडा जितेको छ । एमालेले ५ वटा वडा जितेको गौरादहका ४ वडा मात्र यस क्षेत्रमा पर्छन् । उसले कमलमा ४ र गौरीगन्जमा ३ वटा वडा जितेको छ । कांग्रेसले ६, माओवादीले २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् । कांग्रेसले दमक र गौरादहमा २–२, गौरीगन्जमा २ वटा वडा जिते पनि यस क्षेत्रमा एउटा वडा मात्र पर्छ । उसले कमलमा एउटा वडा जितेको छ । माओवादीले गौरादह र कमलमा एक–एक वडा जितेको छ । एकीकृत समाजवादीले कमलमा एउटा वडा जितेको हो । यस क्षेत्रमा एमाले–राप्रपा गठबन्धन बलियो छ । स्थानीय चुनावमा ३० वर्षदेखि नेतृत्व गर्दै आएको दमक नगरपालिका र कमल गाउँपालिकाको नेतृत्व एमालेले गुमाएकाले ओली केही दबाबमा देखिन्छन् । दमकमा राप्रपा दोस्रो ठूलो पार्टी हो तर स्थानीय चुनावमा एमालेविरुद्ध कांग्रेस, राप्रपा र माओवादी मिलेर लडेका थिए, जसबाट प्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस विजयी भएका थिए । एमालेविरुद्ध चुनाव लडेर तीन दशकपछि दमक नगरपालिकाको नेतृत्वमा पुगेको राप्रपा ६ महिनामै सत्ता गठबन्धनलाई धोका दिने अवस्थामा देखिँदैन । प्रमुख–उपप्रमुख राप्रपा, कांग्रेसको भए पनि दमक नगरपालिकामा बहुमत एमालेको छ । बहुमत भएकै कारण एमालेले असारमा नगरपालिकाको बजेट पारित गर्ने क्रममा अड्को थापेको थियो । एमालेको अवरोधका कारण नगर प्रमुख राम थापाले असार मसान्तमा बजेट पारित गर्न सकेनन् । करिब महिना दिनको उल्झनपछि नगरपालिकाको बजेट त पारित भयो तर नगर प्रमुख थापा र एमालेको सम्बन्ध सुधार हुन सकेन । दमकमा एमालेले थापालाई नगर प्रमुख स्विकारेको छैन । यस कारण पनि थापा नेतृत्वको राप्रपा अहिले नै गठबन्धनलाई धोका दिने अवस्थामा देखिन्न । त्यसको झलक ओलीले गरेका चुनावी घरदैलोमा पनि देखिएका छन् ।
ओली यसपल्ट आफ्नो निर्वाचन क्षेत्रको घरदैलोका क्रममा दुईवटा विषयमा बढी केन्द्रित छन् । पहिलो, गठबन्धनलाई गाली गर्ने । दोस्रो, राप्रपाका मतदातालाई विश्वासमा लिने । ओलीले यस वर्ष कुनै नयाँ योजनाको सपना बाँडेका छैनन् । दमकमा गरेका केही योजनाबारे बताउँदै भोट मागिरहेका छन् । राप्रपासँग चुनावी तालमेल गरे पनि उनले आफ्नो निर्वाचन क्षेत्रमा निकै मिहिनेत गरिरहेका छन् । उनी साउनयता बाक्लो गरी आफ्नो निर्वाचन क्षेत्रमा आएका छन् । जबकि ०७४ को चुनावमा उनी आफ्नो क्षेत्रमा आयोजित सभामा दुई पटक मात्र सहभागी भएका थिए ।
यस क्षेत्रबाट ओली ०४८ यता निरन्तर चुनाव लड्दै आएका छन् । उनले ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा तत्कालीन झापा–६ बाट चुनाव लडेका थिए । उक्त तीनवटै निर्वाचनमा उनी निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा भने पराजित भए । त्यसबेला उक्त क्षेत्र झापा–७ थियो । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङदेन निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओली नै निर्वाचित भए । ०७४ को निर्वाचनमा झापा–५ बाट चुनाव लडेका ओलीले सर्वाधिक मत प्राप्त गरेका थिए । त्यसबेला कांग्रेसले एक्लै चुनाव लडेको थियो । तर, यसपल्ट अवस्था फरक छ । सत्ता गठबन्धनमा कांग्रेससँग माओवादी र एकीकृत समाजवादी छन् भने एमालेसँग राप्रपामात्र छ ।
कांग्रेस उम्मेदवार अधिकारीले माओवादी, एकीकृत समाजवादीसहित गठबन्धनका कारण यस पटक आफू सहज अवस्थामा रहेको बताए । ‘यस पटक मलाई सजिलो छ, गठबन्धनको बलले म चुनाव जित्छु,’ उनले भने । एमाले प्रचारप्रसार समितिका संयोजक देवेन्द्र दाहालले भने करिब ३५ हजार मतले ओली विजयी हुने बताए । ‘माओवादीलगायत अरू दलबाट पनि अध्यक्षलाई मत आउँछ, हामी ०७४ भन्दा ठूलो मतान्तरले जित्छौं,’ उनले भने ।
लेखक एवं स्वतन्त्र उम्मेदवार युग पाठकले राजनीतिक दलले विचारको शक्ति गुमाएकाले नयाँ व्यक्ति रोजाइमा परेको बताए । ‘दलहरूसँग विचारको शक्ति छैन, उल्टो राजनीतिलाई सुल्टो बनाउन म उम्मेदवार भएको छु,’ दमकमा आइतबार भेटिएका उनले भने, ‘मतदाताको रेस्पोन्सले उत्साहित छु ।’

मुख्य पृष्ठ

जलवायुजन्य क्षति भोग्ने देशको मुद्दा प्रमुख

कोप–२७ सुरु
- अब्दुल्लाह मियाँ

(शर्म एल शेख, इजिप्ट)
जलवायुजन्य हानिनोक्सानी र त्यसको सम्बोधनसम्बन्धी विषयले कोप–२७ मा औपचारिक प्रवेश पाएको छ । इजिप्टको शर्म एल शेखमा आइतबार सुरु राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको महासन्धिको २७ औं सम्मेलन (कोप–२७) को उद्घाटन सत्रमै उक्त विषय उठेको हो ।
विगतमा जलवायुजन्य क्षति भोगेका मुलुकले मुद्दा उठाए पनि बढी प्रदूषण गर्ने मुलुकले बेवास्ता गर्दा वातावरणीय मुद्दामा कोपको निष्कर्ष फलदायी हुन सकिरहेको छैन । यस पटक पनि विभिन्न मुलुकका सरकार बीचको लामो छलफलपछि यो मुद्दा बहसमा लग्ने सहमति बनेको हो ।
उद्घाटन सत्रमा कोप–२६ का अध्यक्ष बेलायती सांसद आलोक शर्माले इजिप्टका विदेशमन्त्री समेह सौकरीलाई कोप–२७ को अध्यक्षता हस्तान्तरण गरे । ‘यो सम्मेलनबाट विश्वको तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित राख्ने लक्ष्यमा हामी दृढ हुनु आवश्यक छ,’ शर्माले भने ।
सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ४५ प्रतिशत कायम गराउन सबै पक्ष मुलुकले पुरानो प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिए । ग्लास्गो सम्मेलनपछि २९ देशले राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) संशोधनसहित पेस गरेका छन् ।
सन् २०१५ को पेरिस सम्झौतामा सन् २०३० सम्म हरितगृह ग्यास उत्सर्जन ४५ प्रतिशतमा झार्ने र २०५० सम्ममा खुद शून्य (नेट जिरो) बनाउने लक्ष्य लिइएको थियो । त्यसका लागि बढी प्रदूषण गर्ने मुलुकहरूले उत्सर्जन ठूलो मात्रामा घटाउनुपर्ने हुन्छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले अहिलेकै हिसाबले कार्बन उत्सर्जन जारी रहे पृथ्वीको औसत तापक्रम सन् २०४० भित्रै १.५ डिग्री सेल्सियस बढ्ने चेतावनी दिएको छ ।
७ वर्षअघि भएको पेरिस सम्झौताले उत्सर्जनमा कमी ल्याई सन् २१०० सम्म विश्वको तापक्रम विश्वव्यापी औद्योगिकीकरण हुनुअघिको तुलनामा सम्भव भएसम्म १.५ डिग्रीमा सीमित गर्ने र नसके २ डिग्रीमाथि बढ्न नदिने लक्ष्य लिएको छ ।
त्यसका लागि के कति उत्सर्जन कटौती गर्न सकिन्छ भन्ने लक्ष्यसहितको परिमार्जित प्रतिवेदन बुझाउन राष्ट्रसंघले सबै पक्ष मुलुकलाई भनेको थियो । कार्बन उत्सर्जन बढिरहने हो भने २.६ देखि ४.५ डिग्रीका हिसाबले तापक्रम बढ्ने वैज्ञानिकहरूको आकलन छ । आईपीसीसीले अहिले नै नियन्त्रण गर्नेतिर ध्यान नदिने हो भने आगामी वर्षहरूमा खडेरी, बाढी, पहिरो, हिमपहिरो, हिमआँधी, हिमताल विस्फोट, अनियन्त्रित डढेलो, अति वर्षाजस्ता घटना बढ्ने चेतावनीसमेत दिइसकेको छ । नेपालले त झन् त्यस्ता घटनाहरूको बर्सेनि सामना गर्दै आएको छ ।
कोप–२७ का अध्यक्ष सौकरीले यस सम्मेलनबाट परिणाम दिने गरी वार्ताहरू अघि बढाउने लक्ष्य राखिएको बताए । ‘हामीले यसै वर्ष पाकिस्तान, अफ्रिकी महाद्वीप र अमेरिकालगायतका जलवायुजन्य हानि र पीडादायी घटनाहरू देखेका छौं,’ उनले भने, ‘त्यसैले त्यसलाई सम्बोधन गर्न यो कोपले बाटो खुला गर्नुपर्छ ।’
यूएनएफसीसीसीका कार्यकारी सचिव साइमन स्टिलले जलवायुजन्य हानिनोक्सानी सम्बोधनका लागि वित्त प्रवाह गर्न यो कोप निर्णायक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हानिनोक्सानीका लागि आवश्यक वित्तको मुद्दामा सहमत हुन सकेनौं भने हाम्रो उपस्थितिको कुनै अर्थ छैन ।’ आईपीसीसीका अध्यक्ष होसुङ लीले आईपीसीसीका प्रतिवेदनहरूले जलवायु परिवर्तन रोक्ने कुनै प्रविधिको विकास नभएको देखाएकाले जलवायुजन्य विपद् सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । उनले भने, ‘विश्वभर नै हानिनोक्सानीको मात्रा बढिरहेको छ, त्यसैले जलवायु अनुकूलित हुनका लागि आवश्यक पर्ने वित्त प्रवाहमा कमी हुन दिनु हुँदैन ।’
अघिल्लो वर्ष स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा पनि उक्त विषयमा लामो मन्थन भएको थियो तर विकसित मुलुकहरू हानिनोक्सानी सम्बोधनका लागि आवश्यक पर्ने अलग्गै वित्तीय व्यवस्थापनमा सहमति नगर्दा विषय टुंगोमा पुग्न सकेको थिएन । इन्टरनेसनल सेन्टर फर क्लाइमेटचेन्ज एन्ड डेभलपमेन्ट (इक्कार्ड) का निर्देशक सलिमुल हक हानिनोक्सानी र क्षतिको वित्तीय व्यवस्थापनमा कोप–२७ कोसेढुंगा साबित हुने देख्छन् । उनले ट्वीट गरेका छन्, ‘विकासशील देशका वार्ताकारहरू, कृपया वार्तामा आफ्नो आधार खडा गर्नुहोस् । तपाईंका मानिसहरू तपाईंबाट निर्भर छन्, तिनीहरूलाई धेरै निराश नबनाउनुहोस् ।’ जलवायु परिवर्तन वार्ताकार मञ्जित ढकाल पनि कोप–२७ ले हानिनोक्सानीको विषयलाई स्वीकार गर्दै त्यसको सम्बोधनका लागि आवश्यक पर्ने वित्तीय संरचनाको बाटो यही कोपले खोल्नुपर्ने बताउँछन् ।
केही महिनाअघि जर्मनीको बोनमा भएको बैठकबाट नै जलवायुजन्य हानिनोक्सानीलाई कोपको औपचारिक एजेन्डा बनाउन पहल गरिएको थियो । तर, त्यसमा विकसित मुलुकहरूले असहमति जनाउँदै आएका छन् । क्षति व्यहोरिरहेका मुलुकहरूले हानिनोक्सानीलाई मुख्य मुद्दा बनाउन जोड दिइरहेका छन् ।
यो सम्मेलनमा नेपालले पनि त्यही मुद्दालाई मुख्य विषयका रूपमा उठाउँदै छ । कोप–२७ मा अल्पविकसित राष्ट्रहरूको समूह, जी–७७ र चीन समूहले हानिनोक्सानीलाई औपचारिक मुद्दा नबनाएसम्म बैठक अघि बढाउन नदिने सम्भावना छ । नेपाल यही समूहसँग मिल्नेछ ।
अघिल्लो वर्षको कोप–२६ ले हानिनोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क) लाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । सेन्टियागो नेटवर्कलाई यूएनएफसीसीसी र पेरिस सम्झौता दुवैको साझा संरचना र सु–शासनअन्तर्गत राख्न नेपालले जोड दिएको छ । यो वर्षको हानिनोक्सानी पाकिस्तानको स्वाड, अफ्रिका, युरोप, दक्षिण एसियालगायतका देशमा पारेको ठूलो क्षतिका कारण यो विषयमा थप संवेदनशील हुनुपर्ने सरोकारवालाहरूले जिकिर गरिरहेका छन् । ‘नेपालले सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिक रूपमा एजेन्डामा राखेर वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्नेछ,’ वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले भने ।
सम्मेलनअन्तर्गत सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले आमन्त्रण गरेका प्रमुखहरूको सत्र रहनेछ । त्यसमा विभिन्न देशका सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन् । अहिलेसम्म १ सय २५ देशका सरकार प्रमुखहरूले उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने निश्चित भएको छ । हरितगृह ग्यास उत्सर्जनमा अग्रसर मुलुकहरू चीन, भारत र ईयू मुलुकहरूबाट भने सरकारका प्रतिनिधिहरू मात्र सहभागी छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी राष्ट्रपति जो बाइडेन, बारबाडोसकी प्रधानमन्त्री मिया मोटेली, जोन केरी, युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेरलगायतको सहभागिता हुनेछ । नेपालबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेतृत्व गर्दैछिन् । कोपमा १ सय ९७ देशका सरकारी अधिकारी सहभागी कोप मंसिर २ सम्म चल्नेछ ।

मुख्य पृष्ठ

मतपत्र आयो, किताब कहिले ?

कर्णालीका विद्यालयमा करिब ५ लाख किताब अपुग
- राजबहादुर शाही
मुगुको खत्याड–८ स्थित सर्वोदय माविका विद्यार्थी । तस्बिरः राजबहादुर शाही/कान्तिपुर

(मुगु)
शैक्षिक सत्र सुरु भएको ७ महिना भयो, खत्याड–८ सुकाढिकको सर्वोदय माविमा ९ कक्षामा पढ्ने आशा कार्कीका हातमा पूरै सेट किताब परेका छैनन् । उनका ३७ सहपाठीले पनि अर्थशास्त्र, विज्ञान र शिक्षा विषय पाठ्यपुस्तकबिनै पढ्नुपरेको छ ।
‘कोर्स आधै पुगिसक्यो, किताबै आइपुगेनन्,’ भनिन्, ‘किताब अब पाइँदैन पनि होला ।’ समस्या उनको मात्रै होइन, मुगुका धेरै विद्यालयमा पूरै सेट किताब भने अझैसम्म पुगेका छैनन् । विद्यालयहरूमा मतदान केन्द्रका लागि तयारी भने धमाधम भइरहेको देखेका विद्यार्थी अनौठो मान्छन् ।
निर्वाचन आयोगले गत शनिबार हेलिकोप्टरबाट मतपत्र मुगु पठायो । प्रदेश निर्वाचन कार्यालयका अनुसार कर्णालीका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । ‘हिमाली जिल्लामा त सबै मतपत्र र अन्य सामान पनि ढुवानी भइसक्यो,’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘हाम्रो व्यवस्थापन करिब–करिब सकिन लाग्यो, अब मतदानको प्रतीक्षामा छौं ।’
उता पाठ्यपुस्तक नभएपछि विद्यार्थी निराश छन् । ‘चारवटा विषयका किताब आइपुगेनन्,’ सर्वोदय माविको ९ कक्षाका विद्यार्थी नवीन विकले भने, ‘किताब छैन, सरले भनेको पनि बुझिँदैन, होमवर्क गर्न पनि समस्या भयो ।’
विषयगत किताब नहुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा ठूलो असर परेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । ‘नयाँ किताब विद्यार्थीको मनोविज्ञानसँग पनि जोडिएको छ,’ उनले भने, ‘एक त हामीलाई पालिकाले समयमै किताबको पैसा पठाउँदैन, पठाए पनि ढुवानी गर्ने व्यवसायीले किताब ल्याउन सधैं ढिलो गर्छन् । अभिभावकबाट हामी गाली पाउँछौं, नतिजा पनि कहिल्यै राम्रो हुँदैन ।’
पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको घरमा पढ्ने चाहना पूरा नभएको स्थानीय अभिभावक कमल शाहीले बताए । ‘किताब आइदिए विद्यार्थीले कम्तीमा घरमा पढ्न त पाउँथे,’ उनले भने, ‘लगातार दुई वर्षसम्म पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको सिकाइस्तर पनि खस्किएको छ ।’ खत्याड गाउँपालिकाको पञ्चदय माविमा ६, ७, ८, ९ र १० कक्षाका विद्यार्थीले पनि अझै विषयगत किताब पूरा पाउन नसक्दा पढाइमा बाधा परेको छ । उक्त विद्यालयका कक्षा ७ मा कम्प्युटर, ८ मा पेसा व्यवसाय, कक्षा ६ मा गणित स्वास्थ्य, जनसंख्या र कक्षा १० मा ऐच्छिक गणित किताब विद्यार्थीले नपाएको शिक्षकको भनाइ छ । रातापानीस्थित महादेव मस्टा नमुना माविमा कक्षा ५ मा अंग्रेजी, ९ मा विज्ञान र कक्षा ८ मा पेसा व्यवसाय विषयका किताब पुगेको छैन । प्रधानाध्यापक नरेशबहादुर शाहीले भने ‘अपूरा किताबले विद्यार्थीलाई पढ्न र हामीलाई पढाउन गाह्रो भएको छ ।’ जनज्योति माविका ३५ विद्यार्थीले पूरै किताब नपाउँदा सिकाइको स्तरमै प्रभाव परेको प्रधानाध्यापक सुवास रावलले सुनाए । समस्या खत्याडका विद्यालयहरूमा मात्रै सीमित छैन । सोरु गाउँपालिकाभित्रका विद्यालयहरूमा पनि पाठ्यपुस्तक पर्याप्त पुगेका छैनन् ।
विद्यालयस्तरको शैक्षिक व्यवस्थापन स्थानीय तह मातहत छ । जनप्रतिनिधिहरूले भने सबै विद्यालयमा किताब पुर्‍याउन निर्देशन दिइसकेको बताउने गरेका छन् । ‘यहाँ किताब पुग्न एक जनाले जोड गरेर नहुने रहेछ, विद्यालय, स्थानीय तह, ढुवानी व्यवसायी र यातायात व्यवसायी सबैले समयमा काम गर्न सके मात्र पुग्ने रहेछ,’ सोरु गाउँपालिका उप  ाध्यक्ष सरिता रोकायाले भनिन्, ‘स्थानीय तहबाट हुनुपर्ने रकम निकासाको काम समयमै भइसकेको छ ।’ वर्षाले सडक अवरुद्ध भएकाले किताब ढुवानीमा ढिला भएको जवाफ आएको उनले बताइन् ।
कर्णालीका जिल्लाहरूमा जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट पाठयपुस्तक ढुवानी हुने गरेको छ । कर्णालीमा कक्षा ४ देखि १० सम्मका १४ लाख १ हजार ७ सय ८९ किताब आवश्यक भएकोमा ९ लाख २९ हजार १ सय ४१ थान मात्र पुगेको केन्द्रका क्षेत्रीय प्रबन्धक धनबहादुर केसीले बताए ।

Page 2
समाचार

डेरावालका दुःख

झन्डै ६६ प्रतिशत सहरिया बहालमा बस्ने गरेको तथ्यांक, उपत्यकाभित्रै ४७ प्रतिशत डेरावाल
- मधु शाही,लीला श्रेष्ठ

(काठमाडौं)
लितपुरको पाटन बंगलामुखी मन्दिरनजिकै बस्छिन्, सारथि गौतम । एउटै कोठाको मासिक सात हजार रुपैयाँ तिरिरहेकी उनलाई दिनरात पानी भर्ने चिन्ताले सताउँछ । रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक पढ्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंमा भाडामा बस्नु भनेको आधा ज्यान सुकाउनु जस्तै हो ।’
घरभेटीले भनेजति भाडा तिर्दा पनि आधारभूत सुविधाबाट उनी वञ्चित छिन् । पानी सातामा एक पटक आउँछ, त्यो पनि घरभेटी आफैंले खपत गर्ने गरेको उनले बताइन् । ‘बिहानै ५ बजे ढुंगेधारामा लाइन लाग्नुपर्छ,’ भन्छिन्, ‘सुविधा बढ्दैन, भाडा बढेको बढ्यै छ । १० वर्षअघि ३५ सय तिर्ने कोठाको भाडा अहिले सात हजार पुगेको उनको भनाइ छ । पानी, बिजुली र फोहोरको छुट्टै शुल्क तिर्नुपर्छ । पानी अपुग भएपछि उनीलगायत पाटन छेउछाउ बस्ने धेरै डेरावाल ढुंगेधारा धाइरहेका भेटिन्छन् । ‘पानी बोकेर कोठासम्म पुग्दा हात गलेर फत्रक्कै हुन्छ,’ उनी भन्छिन्, ‘घरभेटीलाई समस्या सुनाउँदा चित्त नबुझे छाडेर जाऊ भन्दै तितो जवाफ फर्काउँछन् ।’
शंखमूलमा डेरा गरेर बसेका जीवन सिवाकोटीलाई घरभेटीले भाडामा बस्नुअघि ट्वाइलेटमा पानी आउने, प्रशस्त पानी भर्न पाइने बताएका थिए । सुरुका दुई महिना उनले त्यो सुविधा पाए पनि । बिस्तारै विभिन्न कारण देखाउँदै ट्वाइलेटमा पानी नदिने, खानेपानी भर्न नदिने जस्ता व्यवहार सुरु भयो । ‘खानेपानीको पैसा तिर्छु तर पानी पाइँदैन,’ उनले भने, ‘जति भने पनि घरभेटी सुनेको नसुनेजस्तै गर्छन् ।’
बुद्धनगरमा २० वर्षदेखि घरमा बस्दै आएकी राधा भण्डारीले दुई छोराछोरीलाई त्यहीं हुर्काइन् । पुरानो घर भएकाले विद्युत्को मिटर बक्स छुट्टै नराखिदिँदा घरभेटीले जति भन्छन्, त्यति शुल्क बुझाउनुपर्ने बाध्यता छ । दुई कोठाको भाडा तिर्ने गरेकी उनले राइस कुकरसमेत चलाउन पाउँदिनन् । तर, विद्युत् शुल्क भने महिनाको ५ सयभन्दा बढी आउँछ । ‘घरभेटीले गरेको शोषणका विषयमा कुन निकायमा गएर सुनाउने ?’ उनले भनिन्, ‘मिटरबक्स अर्को राख्न धेरै पटक अनुरोध गरे पनि सुन्दैनन् । आफ्नो बिजुलीको बिलसमेत भाडामा बस्नेहरूबाटै असुल्छन् ।’
दोलखा शैलुङ गाउँपालिका–३ की सानुमाया श्रेष्ठको परिवार काठमाडौं–१७ क्षेत्रपाटी माली गल्लीमा बस्न थालेको १२ वर्ष भयो । सुरुमा एक हजार ४ सय तिर्थिन्, अहिले त्यही कोठाको ८ हजार रुपैयाँ बुझाउनुपर्छ । पानी, बत्ती, फोहोरको छुट्टाछुट्टै पैसा बुझाउनुपर्छ । ‘सातामा एक दिन पानी आउँछ, घरभेटीले पहिले भर्छन्, आफ्नो पालो आउँदा सुकिसक्छ,’ उनले भनिन्, ‘इनारको पानी तानेर लिएको छुट्टै चार्ज तिर्नुपर्छ ।’ शारीरिक अपांगता भएकी छोरीको स्याहारमा दिन कटाउने सानुमाया घरभेटीले सित्तैमा बस्न दिए जसरी बचन लगाउने बताउँछिन् । ‘अपांग छोरी आफ्नो काम आफैं गर्न सक्दिनन्, सरसफाइ, शौचालय प्रयोगलगायतको कुरामा बचन लगाइरहन्छन्,’ उनले गुनासो गरिन्, ‘दुई दिन भाडा तिर्न ढिला भयो भने कोठा छोड्न दबाब दिन्छन् ।’ उनका श्रीमान् दिलकृष्ण होटलमा काम गर्छन् । एक जनाको कमाइले चार जनाको परिवार धान्नुपर्ने र महँगो भाडाले गर्दा उनको परिवार तनावमा छ ।
मीनभवनमा बस्दै आएकी भावना रानामगरको त फोहोरको शुल्क लिने विषयमा घरभेटीसँग चर्काचर्की नै पर्‍यो । मासिक ४ सय ५० रुपैयाँ घरभेटीले फोहोर शुल्क तिर्ने गर्छन् । तर, भावनाले १०० रुपैयाँ तिर्दा अर्को कोठामा बस्नेलाई घरभेटीले ५० रुपैयाँ लिने गरेका छन् । शुल्कमा विभेद गरेको थाहा पाएपछि उनले घरभेटीसँग कारण सोधिन् । ‘मैले पछि झगडा गरेर ५० रुपैयाँ तिर्न थालें,’ उनले भनिन्, ‘यही बहानामा चित्त नबुझेर कोठा छोडेर जाऊ भन्दै आएका छन् । झन् चिन्ता थपिएको छ ।’
कपनमा डेरा गरेर जिम सेन्टर सञ्चालन गर्दै आएका नवराज कार्की पनि घरभेटीपीडित हुन् । तीन वर्षदेखि व्यवसाय थालेका उनले घरभेटीबाट विद्युत् महसुलमा ठगिएको पाएपछि घर बहाल सरोकार महासंघ पुगे । मिटरमा उठेको भन्दा २७ प्रतिशत बढी शुल्क असुलेपछि उनले गुनासो गरे । महासंघका अध्यक्ष बलभद्र खनाल यस्ता अनेक समस्या लिएर पीडितहरू आउने गरेको बताउँछन् । व्यवसाय, बसोबास र पढाइका सिलसिलामा नेपालभर झन्डै ६६ प्रतिशत मानिस डेरामा बस्दै आएको महासंघको तथ्यांक छ, काठमाडौं उपत्यकाभित्र मात्रै ४७ प्रतिशत डेरावाल छन् । घर भाडामा बस्नेहरूको समस्या बल्झिँदै गएकाले महासंघ स्थापना भएको उनी बताउँछन् । ‘घर भाडासम्बन्धी देशभरबाट ११ हजारभन्दा बढी उजुरी आएका छन्,’ उनले भने, ‘शौचालय, खानेपानी, विद्युत् र चर्को भाडा बढाएकालगायत समस्या धेरै आउँछन् ।’
चितवन, कास्कीको पोखरालगायत विभिन्न जिल्लामा २५ वटा महासंघका शाखा छन् । अध्यक्ष खनालका अनुसार घर बहालबाट कर उठाउने राज्यले व्यवस्थित एकीकृत कानुन नल्याउँदा ठूलो कर छली भएको, घरभेटी मोटाउँदै गएको र घर बहालमा बस्ने पीडित हुँदै गएको अवस्था सुनाए । महासंघले घर बहालको समस्या समाधानका लागि राज्यसँग माग गर्दै आएको छ । राज्यले लिँदै आएको १० प्रतिशत बहालकर घटाएर २ प्रतिशत बनाउने, घर बहालसम्बन्धी एकीकृत कानुन निर्माण गर्ने, वैज्ञानिक र मनासिब बहाल तोकिनुपर्ने, स्क्वायर फिटका आधारमा कोठा भाडाको शुल्क तोकिनुपर्ने, सुविधाअनुसार शुल्क लिनुपर्नेलगायतका माग महासंघको छ ।
काठमाडौं महानगरपालिकामा भने लक्ष्यभन्दा दोब्बर कर घर बहालबाट उठ्ने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा घर बहाल करअन्तर्गत २ अर्ब ३ करोड ६४ लाख ८१ हजार ६ सय ५४ रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षमा दुई अर्बको अनुमान गरेको महानगरले हालसम्म ६६ करोड ५८ लाख रकम उठाइसकेको छ । महानगरभित्र २ लाख ५४ हजार घरमध्ये ११ हजार ३ सय ८१ घरले मात्रै कर तिरेको महानगरको तथ्यांकले बताउँछ ।
व्यक्तिगत कोठा भाडामा लगाउने अधिकांशले कर छली गर्छन्, न यसमा स्थानीय निकायको मापदण्ड छ न त अनुगमन नै । महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारी घर बहाल कर व्यवस्थित र मर्यादित बनाउन जरुरी रहेको बताउँछन् । ‘एउटा घरभेटीले यति वटा कोठा भाडामा दिएको छु भनेर साँचो बोल्दैन,’ उनले स्विकारे, ‘मनपरी भाडा पनि उठाएकै हुन्छ, हामी करको दायरामा ल्याउन चुकेकै छौं ।’

घर बहाल करमा द्वन्द्व
घर बहाल कर संकलनमा स्थानीय तह र संघबीच द्वन्द्व देखिएको छ । मुलुक तीन तहको संरचनामा गएसँगै स्थानीय सरकारले घर बहाल करलाई आफ्नो आम्दानीको मुख्य स्रोतका रूपमा लिन थालेपछि द्वन्द्व देखिएको हो । घर बहाल कर संकलनको अधिकार स्थानीय तहलाई दिइएपछि वर्षौंदेखि घर बहालबापत कर नितेरका घरजग्गा मालिक र भाडावाला दुवै करको दायरमा आउनुपर्ने बाध्यता छ ।
कुनै व्यक्ति वा संस्थाले आफ्नो भवन, घर, पसल, ग्यारेज, वर्कसप, गोदाम, टहरा, सेड, जग्गा पूरै वा आंशिक तवरले भाडामा लगाउँदा स्थानीय तह वा संघीय सरकारलाई बहाल कर तिर्नुपर्ने हुन्छ । मुलुक संघीय प्रणालीमा गइसकेपछि बहाल कर असुली गर्न स्थानीय तहले एकाधिकार पाएको हो । आफैं बहाल कर निर्धारण गरी असुली गर्न पाउने पूर्ण अधिकार स्थानीय तहलाई दिइएको काठमाडौं महानगरपालिकाका राजस्व विभाग अधिकारी बताउँछन् । काठमाडौं महानगरपालिकाले बहाल कर १० प्रतिशत लिँदै आइरहेको छ । कुनै स्थानीय तहले १७ प्रतिशतसम्म लिन्छन् । ‘तापनि संघीय सरकारले बलमिच्याइँ गरेर संस्थागत बहाल कर आफैं असुली गरिरहेको छ,’ अधिकारीले भने, ‘संघीय सरकारमा बहाल करको शीर्षक पनि छैन ।’
घरधनी र बहालवालाबीच भएको सम्झौतापत्र वा घरधनीले स्वःघोषणा गरेका आधारमा स्थानीय तहले बहाल कर निर्धारण गरी असुल्ने गरेका छन् ।


असल घरभेटी पनि छन्
घर बहालमा बस्नेहरूले घरभेटीप्रति अनेक गुनासा गरे पनि सबै घरभेटी खराब छैनन् । महासंघले नै दुई वर्षअघि पोखराका असल घरभेटीलाई सम्मान गरेको थियो । यस पटक झापा, काठमाडौंका घरभेटी सम्मानित हुँदै छन् । असल घरभेटीमा पर्नेमा झापाका मनोज आचार्य पनि हुन् । उनले १३ वर्षदेखि व्यावसायिक रूपमा घर भाडामा लगाउँदै आएका छन् । उनले कोभिडका बेला ५ लाखसम्मको घर भाडा छुट दिएका थिए । ‘भाडामा राख्नु भनेको मात्रै व्यवसायका लागि हुँदैन । भाडामा बस्ने परिवार जस्तै हुन्,’ उनले भने, ‘उनीहरू बिना हामी भोकै हुन्छौं । मानवीय र पारिवारिक सम्बन्ध विस्तार गरे घरभेटी र डेरावालाको गहिरो मित्रता हुन सक्छ ।’
 घर बहाल सरोकार महासंघको काठमाडौं शाखाले काठमाडौंका करिब ८० असल घरभेटीलाई सम्मान गर्दै छ । काठमाडौं संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाले कोभिडका बेला घर भाडा छुट दिएका र घर भाडामा बस्नेसँग मित्रवत् व्यवहार गर्नेको मूल्यांकन भइरहेको बताए । ‘हामीले घरभेटी र भाडामा बस्नेबीचको सम्बन्ध पारिवारिक बनाउन प्रोत्साहन गर्न जरुरी छ,’ उनले भने, ‘असल घरभेटीहरू पनि निकै छन् ।’

Page 3
समाचार

५ वर्षमा ९ मन्त्री, स्वास्थ्य सेवा जहाँको त्यहीं

चुनावका बेला दलहरुले गरेका प्रतिबद्धता कागजमा मात्रै
न पालिकामा स्तरीय अस्पताल बने न मातृ मृत्युदर नै घट्यो
- प्रशान्त माली

(काठमाडौं)
- २०७६ पुस २३ मा सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएर मुगुको छायाँनाथ रारा नगरपालिका–१० की धनरुपा विश्वकर्माको मृत्यु भयो । जिल्ला अस्पताल ठिनी ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । गाउँमा बर्थिङ सेन्टर नभएकाले उनलाई घरमै सुत्केरी गराइएको थियो ।
 - २०७८ असोज १५ मा अछाम तुर्माखाद गाउँपालिका–१ की पूर्णकला नेपालीलाई बिहान सुत्केरी व्यथा लाग्यो । दुर्गम दलित बस्तीकी उनलाई व्यथाले च्यापेपछि समयमै स्वास्थ्यचौकी पुर्‍याउन नसक्दा मृत्यु भयो ।
 - २०७७ भदौ ९ मा कालीकोट रास्कोट नगरपालिका–२ की २८ वर्षीया सिरा सार्कीको सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएर मृत्यु भयो । समयमा उपचार नपाएका कारण उनले छोरालाई काखमा लिन नपाउँदै मृत्युवरण गरिन् ।


गर्भवती र सुत्केरी व्यथा लागेर अत्यधिक रक्तस्रावका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार २०७५/०७६ मा २६ जना, ०७६/०७७ मा ८७ जना, ०७७/०७८ मा १०३ जना र ०७८/०८९ मा १४४ जनाको मृत्यु भएको छ । २०७४ मा वाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र जारी गर्दै सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने वाचा गरेको थियो । कांग्रेसले १० वर्षभित्र मातृ मृत्युदर (प्रतिएक लाख जीवित जन्ममा) ५० भन्दा कम गर्ने अठोट गरेको थियो ।
 यसबाहेक कांग्रेसले हरेक गाउँपालिकामा प्रसूति सेवासहितको कम्तीमा १५ शय्याको र वाम गठबन्धनले प्रत्येक गाउँपालिकामा २५ तथा नगरपालिकामा ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने वाचा गरेका थिए । नेपाललाई चिकित्सा पर्यटनको गन्तव्य, निःशुल्क स्वास्थ्य उपचार, प्रत्येक नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्न जस्ता महत्त्वाकांक्षी प्रतिबद्धता उनीहरूले जनाएका थिए तर न पालिकामा अस्पताल बने न त मातृ मृत्युदर नै घट्यो ।
आसन्न निर्वाचनलाई लक्षित गरेर वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेले पहिलैकै प्रतिबद्धता दोहोर्‍याएका छन् । कोखदेखि शोकसम्म नारा दिई सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क गर्नेदेखि अन्तर्राष्ट्रियस्तरका अस्पताल बनाउनेसम्मका प्रतिबद्धता उनीहरूले गरेका छन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘राजनीतिक दलका नेताहरूले रोजगारी, कृषि र शिक्षासँगै स्वास्थ्यका सवाल समेटेर घोषणापत्रको कर्मकाण्ड मात्र पूरा गरेका हुन् । चुनाव जितेपछि सबै बिर्सिन्छन् ।’
उनका अनुसार मातृ मृत्युदर घटाउनु निकै कठिन काम हो । ‘सरकारले दुर्गमका स्वास्थ्य संस्थामा चिकित्सक पठाउन सकेको छैन, चिकित्सक भएका अस्पतालमा उपकरण छैन, एम्बुलेन्सको अवस्था दयनीय छ,’ उनले भने, ‘अस्पताल पुग्न भौगोलिक कठिनाइ भएको जिल्लामा गर्भवती भएको आठ महिनामै अस्पतालमा भर्ना गरेर राख्न सकिन्छ तर यी कुरामा कसैले पनि ध्यान दिएको छैन ।’
स्वास्थ्य मन्त्रालयमा २०७४ को निर्वाचनपछि पाँच राज्यमन्त्रीसहित १३ जना मन्त्री फेरिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको साढे तीन वर्षमा ६ मन्त्री, २ राज्यमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा दुई जना मन्त्री र तीन राज्यमन्त्री परिवर्तन भए । कोभिड–१९ को महामारीका बेलामा समेत चार जना मन्त्री परिवर्तन भए । सुरुमा २०७५ चैत २ मा पद्मा अर्यालले
राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय सम्हालेकी थिइन् । राज्यमन्त्री भए पनि उनलाई त्यति बेला मन्त्रीसरहकै अधिकार दिइएको थियो ।
जेठ १८ मा उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यति बेला राज्यमन्त्री सुरेन्द्र यादव भए । यादवले राजीनामा दिएपछि भानुभक्त ढकाल कानुनमन्त्रीबाट २०७६ मंसिर ४ मा स्वास्थ्यमा सरुवा भए । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सारिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले २०७७ पुस १० मा मन्त्रालय सम्हालेका थिए । त्यति बेला राज्यमन्त्री यादव नै रहिरहे । त्रिपाठीपछि ०७८ जेठ २१ मा शेरबहादुर तामाङ मन्त्रीमा नियुक्त भए । उनको कार्यकाल निकै छोटो रह्यो ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ साउन १० मा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भए । २०७८ असोज २२ मा विरोध खतिवडाले स्वास्थ्यमन्त्री र भवानीप्रसाद खापुङले राज्यमन्त्रीको जिम्मेवारी पाए । २०७९ असार १२ मा खतिवडालाई पार्टीले फिर्ता बोलाएपछि राज्यमन्त्री खापुङ मन्त्री र हिराचन्द्र केसी राज्यमन्त्री नियुक्त भए । तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ भन्छन्, ‘छोटो अवधिका लागि मन्त्री बने पनि खोप ल्याउन सम्झौता गरेर महत्त्वपूर्ण काम गरें । सबै नागरिकलाई बिमा गराउन र बिमामार्फत सम्पूर्ण उपचार गराउनेतर्फ लागिपरें ।’ उनले आफ्नो कार्यकालमा सरकारी अस्पताललाई रेफरल अस्पताल नभई सम्पूर्ण उपचार हुने अस्पताल बनाउन पहल गरेको दाबी गरे ।
तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि ५ करोड २१ लाख खोप आउने सुनिश्चित आफ्नो पालामा भएको बताए । ‘खोपको सफल वितरण पनि मेरै पालामा भयो,’ उनले भने, ‘केन्द्रीय अस्पताललगायत स्वास्थ्य संस्थामा सुधार ल्याउन ९ वटा समिति गठन गरे । भारतीय राजदूतावासको सहयोगमा ३ सय वटा डाइलसिस मेसिन ल्याए ।’ उनले प्रतिष्ठान, अस्पतालका विकास समितिका समस्या पहिचान गर्न, मेडिकल कलेजलाई व्यवस्थित बनाउन भूमिका खेलेको दाबी गरे । अहिलेका स्वास्थ्यमन्त्री खापुङले पनि बिमा कार्यक्रम सफल बनाउन लागिपरेको दाबी गरे । ‘स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरेर प्रतिवेदन तयार पार्न लगाएँ,’ उनले भने, ‘पछिल्लो समय सरकारी अस्पतालमा भएका बेथिति सुधार गर्नतर्फ लागेको छु ।’
नेताहरूले स्वास्थ्य क्षेत्रमा सुधार गरेको दाबी गरिरहँदा विश्व स्वास्थ्य संगठनको २०२१ को तथ्यांकअनुसार स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्चका कारण प्रत्येक वर्ष ३० लाख जनाले आर्थिक कठिनाइ बेहोर्नुपरेको छ भने बर्सेनि करिब ५ लाख जना औषधि उपचारमै हुने व्यक्तिगत खर्चका कारण गरिबीको रेखामुनि धकेलिइरहेका छन् । गरिबीको रेखामुनि जानुको कारण स्वास्थ्य क्षेत्रमा हुने कमिसनको खेल मुख्य रहेको स्वास्थ्यविद् डा. ढुण्डीराज पौडेल बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयभित्र भएका स्वार्थपूर्ण हस्तक्षेप, आर्थिक चलखेल र अनियमितता मुख्य हो,’ उनले भने, ‘यसमा पटक–पटक स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्ने एमाले, कांग्रेस, माओवादी र मधेस केन्द्रित दलका नेता जिम्मेवार छन् ।’
उनले स्वास्थ्यको नेतृत्व गर्न पाउनु भनेको खरिदमा कमिसन र सरुवामा लेनदेन गरी आर्थिक फाइदा उठाउनु रहेको बताए । ‘घोषणापत्रमा प्रतिबद्धता जनाएअनुसार आकस्मिक सेवालाई निःसर्त र निःशुल्क भनी स्पष्ट पार्नुको सट्टा शाब्दिक जालझेल गरियो,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्वास्थ्य क्षेत्रमा सन् २०१७/१८ मा एक खर्ब ७० अर्ब खर्च भएको थियो । यो रकममध्ये ६० प्रतिशत खर्च बिरामीको व्यक्तिगत, सरकारी लगानी २५ प्रतिशत, बाँकी दातृ निकाय र गैरनाफामूलक संघसंस्थाले बेहोर्ने गरेको छ । स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्चका गरिबीको रेखामुनि जानेको संख्या भुटानमा ७८ जना, माल्दिभ्समा ८ हजार, श्रीलंकामा १५ हजार र थाइल्यान्डमा शून्य छ ।


जसले ०७४ यता मन्त्रालय सम्हाले
 पद्मा अर्याल (राज्यमन्त्री)    २०७४ चैत २
 उपेन्द्र यादव (मन्त्री)     २०७५ जेठ १८
 भानुभक्त ढकाल     २०७६ मंसिर ४
 हृदयेश त्रिपाठी     २०७७ पुस १०
 शेरबहादुर तामाङ     २०७८ जेठ २१
 कृष्णगोपाल श्रेष्ठ     २०७८ असार ८
 उमेश श्रेष्ठ (राज्यमन्त्री)     २०७८ साउन १०
 विरोध खतिवडा     २०७८ असोज २२
 भवानीप्रसाद खापुङ     २०७९ असार १२

समाचार

लोसपाको प्राथमिकता मधेस मुद्दा

जनकपुर (कास)– सत्ता गठबन्धनसँगै चुनावी अभियानमा होमिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्रमा मधेस आन्दोलनसँग जोडिएका मुद्दालाई प्राथमिकताका साथ उठाएको छ । लोसपाले मधेस आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई चुनावी अस्त्र बनाएको छ । महोत्तरीको जलेश्वरमा आइतबार सार्वजनिक घोषणापत्रमा नागरिकता समस्याको हल गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका एजेन्डा अझै पूरा नभएकाले त्यससँग जोडिएकै मुद्दालाई घोषणापत्रमा समेटिएको बताए । ‘मधेस आन्दोलनको भावनाअनुसार संविधानले पूर्णता पाएको छैन,’ उनले भने, ‘संविधान अपूर्ण छ । नागरिकतासम्बन्धी कानुन नै बनेको छैन । १० लाख जनता नागरिकताविहीन छन् । हाम्रो घोषणापत्रमा मधेसकै समस्या र मुद्दालाई प्राथमिकतामा राखिएको छ ।’ अध्यक्ष ठाकुरले मधेसी जनता अझै विभेदमुक्त हुन नसकेको दाबी गरे । ‘आन्दोलनमा सहभागी साथीहरू अझै जेलमै छन् । परिवर्तनको आन्दोलनमा राज्यबाट हिंस्रक हस्तक्षेप भएको छ । हामीले शान्तिपूर्ण आन्दोलन गर्दा पनि मान्छे मारिएका छन्,’ उनले भने । ठाकुरले सत्तामा गएर जनताको सेवा गर्ने सबै दलको ध्येय रहे पनि घोषणापत्रमा उल्लेख गरिएका मुद्दालाई नीति तथा कार्यक्रममार्फत सम्बोधनको प्रयास गरिने बताए ।
लोसपाको घोषणापत्रमा संविधानको पूर्णता, पहिचानसहितको संघीयताको व्यावहारिक रूपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक, समावेशिताको परिणाममुखी प्रत्याभूति र हरेक विभेदबाट मुक्त नेपाली नागरिक जस्ता विषयलाई प्रमुखताका साथ समेटिएको छ । घोषणापत्र भनिएको छ, ‘लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहनेछौं ।’ घोषणापत्रमा जनकपुरको धार्मिक र सांस्कृतिक विकास गर्न तथा लुम्बिनीलाई विश्वस्तरमा चिनाउन योजना र कार्यक्रम ल्याइने उल्लेख छ ।
घोषणापत्र मस्यौदाका संयोजक नेता अनिल झाले घोषणापत्र विगतको निर्वाचनकै अद्यावधिक संस्करण रहेको बताए । ‘लोसपाले ५ वर्षसम्म सरकार सञ्चालनको मौका पाए घोषणापत्रअनुसार काम गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘सरकारमा स्थान नपाए संसद् र सडकबाट आवाज उठाइन्छ ।’ उनले विगतमै गरिएका धेरै वाचा पूरा गर्न बाँकी रहेकाले मधेस आन्दोलनको एजेन्डा, सहिद परिवारलाई राहत, नागरिकता समस्या समाधान र किसानको समस्यामा लोसपा गम्भीर रहेको र घोषणापत्रमा तिनै मुद्दालाई प्राथमिकतामा राखिएको बताए ।

समाचार

‘नो नट अगेन’ लाई कारबाही नगर्न आदेश

काठमाडौं (कास)– सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउनेलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा गत कात्तिक १४ मा दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले आइतबार उक्त अभियान चलाउनेमाथि कारबाही नगर्न आदेश दिएको हो ।
गत कात्तिक ८ मा निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो नट अगेन’ को प्रचार रोक्न निर्देशन दिँदै तत्काल पोस्ट हटाउन र फेसबुक पेज बन्द गर्न चेतावनी दिएको थियो । आयोगले पोस्ट नहटाए विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुन सक्ने बताएको थियो । आयोगको उक्त निर्देशनविरुद्ध त्रिपाठी सर्वोच्च पुगेका थिए ।
आयोगले ‘नो नट अगेन’ अभियानको विरुद्धमा सूचना जारी गर्नु नागरिकको लोकतान्त्रिक अधिकारको स्वतन्त्रतालाई निषेध र निर्वाचनको स्वच्छता, निष्पक्षतालाई कुण्ठित गर्नु रहेको बताए । उनले आयोगको उक्त कदमले लोकतन्त्र, संविधानको मर्म र आत्मामाथि नै प्रहार गरेको बताए ।

समाचार

सेतोपाटीलाई सोधेको पत्र आयोगबाट फिर्ता

काठमाडौं (कास)– निर्वाचन आयोगले समाचार हटाउन सेतोपाटी अनलाइनलाई दिएको निर्देशन फिर्ता लिएको छ । झापा–१ का एमाले उम्मेदवार अग्नि खरेलका छोराबारे लेखिएको समाचार हटाउन क्षेत्राधिकारबाहिर गएर दिएको निर्देशनको चर्को आलोचना भएपछि आयोगको आइतबार साँझ बसेको बैठकले निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
‘सञ्चारमाध्यम अनुगमनको काम हाम्रो होइन, सम्बन्धित निकायले नै गर्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कान्तिपुरसँग भने, ‘आयोगको निर्णयमा भएको कमजोरी आयोगले सच्याएको छ, उक्त निर्णय कार्यान्वयन हुँदैन ।’ प्रमुख आयुक्त थपलिया जिल्लाबाहिर रहेका बेला निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार उक्त निर्देशन दिएका थिए ।
स्रोतका अनुसार निर्णय विवादमा परेपछि शनिबार राति नै आयोगका पदाधिकारी र कर्मचारीको बैठक बसेको थियो तर भण्डारीले निर्णयबाट पछि नहट्ने अडान लिएका थिए । आइतबार राजधानी फर्केपछि प्रमुख आयुक्त थपलियाले सार्वजनिक कार्यक्रमबाटै निर्णय सच्याउने बताएका थिए ।
निर्वाचन आयोग पछि हटेलगत्तै सेतोपाटीलाई प्रेस काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उम्मेदवारलाई नकारात्मक प्रभाव पार्ने समाचार सम्प्रेषण गरेको भन्दै त्यसको कारण २४ घण्टाभित्र पेस गर्न काउन्सिलले सेतोपाटीलाई पत्र पठाएको हो । झापा–१ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा निशान खरेल अमेरिकी सेनामा रहेको र उनको नेपाली नागरिकता कायमै रहेको भन्ने समाचारमै काउन्सिलले आइतबार पत्र काटेको हो ।

Page 4
वाग्मती प्रदेश

काठमाडौं–६ मा ठूला दललाई स्वतन्त्रको भय

सांसदको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका पूर्वरक्षामन्त्री प्रधानका मुख्य प्रतिस्पर्धी पूर्वप्रहरी महानिरीक्षक खनाल मानिए पनि दुवै जना स्वतन्त्रले दिने चुनौतीलाई लिएर सशंकित छन्
- सुदीप कैनी

(काठमाडौं)
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं–६ का उम्मेदवारहरूले घरदैलो र प्रचारप्रसारलाई तीव्रता दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका भीमसेनदास प्रधान र एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् । तेस्रो पटक सांसद बन्ने दाउमा रहेका पूर्वारक्षामन्त्रीसमेत रहेका प्रधान र पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) खनालबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । प्रधान र खनालसहित यो क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ११ जना स्वतन्त्र हुन् । प्रधान र खनालबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारहरूले दिने चुनौतीलाई निर्णायक मानिएको छ ।
२०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रका मतदाताबाट अनुमोदित प्रधानको पकड राम्रो रहेको मानिन्छ । तर, स्वतन्त्र उम्मेदवारहरूका कारण उनीमाथि चुनौती थपिएको कांग्रेसका स्थानीय नेता–कार्यकर्ता बताउँछन् । देशभर ‘नो नट अगेन’ अभियान चलेकाले त्यसको प्रभाव काठमाडौं–६ मा पनि पर्न सक्ने अड्कलबाजी उनीहरूको छ । निर्वाचनअघि मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बने पनि खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष साथ सहयोग रहेकाले उनीलाई पनि बलियो उम्मेदवारको रूपमा हेरिएको छ । पार्टी संगठन साथसाथै प्रहरी संगठनमा काम गरेको छवि र नयाँ अनुहार भएकाले पनि खनालप्रति मतदाता आकर्षित हुने एमाले नेता–कार्यकर्ता दाबी गर्छन् । विगत र स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा पनि यो क्षेत्रका वडाहरूमा कांग्रेस, एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षाकर्मी शिशिर खनाल, जनता समाजवादीका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, नेपाल मजुदर किसान पार्टीका सनकमान महर्जन, मौलिक जिरोकिलो पार्टीबाट कमल न्यौपाने, हाम्रो नेपाली पार्टीका मुकुन्द सिलवाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर सिलवाल, विवेकशील साझाका अजित खड्का, एकीकृत शक्ति नेपालका काजी कार्की र नेपाल आमा पार्टीबाट राजेन्द्र खनाल पनि उम्मेदवार छन् । राजेश श्रेष्ठ मास्के, विष्णुप्रसाद ढकाल, दिपु उप्रेती, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इङनाम र खगेन्द्र ढकालले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरपालिका–२६, २७ र २८, टोखा नगरपालिका–१, ८, ९, १० र ११, तारकेश्वर नगरपालिका–१, २, ६, ७, ८, ९, १० र ११ यो क्षेत्रमा पर्छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा वडागत रूपमा कांग्रेसले यो क्षेत्रमा १७ हजार २ सय ७४ मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार ३ सय ११ मत पाएको थियो । कांग्रेससँग चुनावी गठबन्धनमा रहेको माओवादीको २ हजार ४ सय ६२ मत र एकीकृत समाजवादीले १ हजार ८ सय ५१ मत ल्याएको थियो ।
गठबन्धनमा असन्तुष्टिको कारणले प्रतिनिधिसभामा माओवादीले उम्मेदवारी नदिए पनि प्रदेशसभातर्फ भने उम्मेदवारसहित प्रचारप्रसार जारी राखेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी तालमेल हुँदासमेत प्रधान १३ सय मतान्तरले विजयी भएका थिए । उनले १६ हजार ७ सय ८५ मत प्राप्त गर्दा माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीले १५ हजार ४ सय ८ मत र विवेकशील साझाका रमेश चिलुवालले ४ हजार २ सय २५ मत ल्याएका थिए । तर, प्रदेशसभातर्फ भने एमाले उम्मेदवारले कांग्रेस उम्मेदवारलाई हराएका थिए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका योगेश भट्टराईलाई हराएका प्रधान २०६४ मा भने माओवादी उम्मेदवार हितमान शाक्यसँग पराजित भएका थिए ।
पछिल्लो स्थानीय निर्वाचनको मत परिणामका आधारमा प्रधान अगाडि देखिए पनि नयाँ, युवा र स्वतन्त्र उम्मेदवारतर्फ सर्वसाधारणको आर्कषण रहेकाले उनलाई जित निकाल्न सहज भने देखिँदैन । केही स्थानीय युवाले यो क्षेत्रमा पनि २ पटकसम्म सांसद बनिसकेकाहरू दोहोरिन नहुने भन्दै ‘नोट नट अगेन’ अभियान पनि चलाइराखेका छन् । दुई पटकसम्म सांसद, मन्त्रीका रूपमा परीक्षण भइसकेका प्रधान र विवादित पृष्ठभूमि रहेका पूर्वआईजीपी खनालका कारण पनि मतदाताले नयाँ अनुहारको खोजी गरिराखेको स्वतन्त्र उम्मेदवारहरूको तर्क छ । तर, एमालेले प्रदेशदेखि प्रतिनिधिसभामा नयाँ अनुहार अघि सारेकाले पनि त्यसको फाइदा खनालसहितका उम्मेदवारलाई पनि मिल्न सक्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । ‘स्वतन्त्र पार्टीप्रतिको देशभरको आकर्षण, ठूला पार्टीका असन्तुष्ट मत, युवा र नयाँ अनुहार खोजिरहेका मतदाताका कारण म उत्साहित छु,’ उनले भने ।
कांग्रेस उम्मेदवार प्रधानले आफ्नो विरासतका कारण पुनः विजयी हुने विश्वास व्यक्त गरे । ‘पार्टीहरूप्रतिको वितृष्णाका रूपमा स्वतन्त्र उम्मेदवार आएका हुन् तर दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले केही गर्न सक्दैन भन्ने कुरा पनि मतदाताले बुझेका छन्,’ उनले भने । प्रधानले मानवमैत्री निर्वाचन क्षेत्र बनाउने, स्मार्ट सिटी, खानेपानीको व्यवस्था र स्वास्थ्य पूर्वाधार विकासको चुनावी एजेन्डा अघि सारेका छन् । ‘हरपल जनताको साथ विकासमा खास, जनताको जिम्मेवारी, जनअधिकार र जवाफदेहिता हाम्रो नारा हो,’ उनले थपे, ‘खानेपानीको व्यवस्था गर्न काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाको समन्वयमा योजनासमेत अघि बढिसकेको छ, त्यसलाई पूरा गर्नुछ ।’ बालबालिकादेखि वृद्धवृद्धाका लागि हेल्थ क्लब अस्पताल र योगस्थल बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।
एमाले उम्मेदवार खनालले चुनाव प्रचारका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकाले आफू निर्वाचित हुने दाबी गरे । ‘मेरो उम्मेदवारीले मतदाताहरू खुसी रहेको पाएको छु,’ उनले भने । सडक करिडोर, ठाउँ–ठाउँमा पार्क निर्माण, नमुना समाज निर्माण गर्ने त्यसैभित्र स्वास्थ्य संस्था, विद्यालयलगायत पूर्वाधार निर्माण गरेर सुधार गर्ने उनले जनाए । प्रहरी संगठनमा रहँदा गरेको कामको कारण फरक पार्टीका मतदाताले पनि आफूलाई मत दिने उनले विश्वास व्यक्त गरे । यो क्षेत्रमा ६२ हजार १ सय २ मतदाता छन् ।

वाग्मती प्रदेश

प्रदेशमा को–को उम्मेदवार ?

काठमाडौं–६ अन्तर्गत २ जना प्रदेशसभा सदस्यका लागि ८ स्वतन्त्रसहित २५ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश–६ (१) मा १० जना र (२) मा १५ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।
  चुनावी रोचक पक्ष त के छ भने २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार प्रधानले जिते पनि दुवै प्रदेशमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार विजयी भएका थिए । जसमा केशव स्थापित र योगेन्द्रराज संग्रौला छन् । उनीहरूले ३ हजारभन्दा बढी मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए ।
यसपालि क्षेत्र–६ (१) मा सत्ता गठबन्धनबाट काठमाडौं महानगरकी पूर्वउपप्रमुख हरिप्रभा खड्की श्रेष्ठ र एमालेबाट निरेशलाल सिंह महर्जनबीच  प्रतिस्पर्धा हुँदै छ । माओवादीबाट रवीन्द्रप्रसाद श्रेष्ठ, राप्रपाका जगत सागर महर्जन, मजदुर किसान पार्टीका देवलक्ष्मी महर्जन, जनता समाजवादी पार्टीका गणेश शाक्य, मौलिक जरोकिलो पार्टीका कल्पना ओझा, राप्रपा नेपालबाट बुद्धकाजी महर्जन र स्वतन्त्र रूपमा योगेन्द्र खतिवडा र सरिता कामी पनि चुनावी प्रतिस्पर्धा गर्दै छन् ।
क्षेत्र–६ (२) मा कांग्रेसले विष्णुभक्त तिमिल्सिना र एमालेले अमनकुमार मास्केलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा तिमिल्सिना संग्रौलासँग पराजित भएका थिए । उनीहरूसहित माओवादीका  प्रकाश फुयाँल, राप्रपाका चिराग मानसिंह कुँवर, नेमकिपाका श्यामकुमार महर्जन, जनता समाजवादीका धनरुजी बुढा, मौलिक जिरोकिलोका वासु उप्रेती, माओवादी समाजवादीका कृष्णबहादुर खड्का, राप्रपा नेपालबाट रिजन रम्तेल पनि दौडमा छन् । बबिन्द्र कुमार कार्की, भरत शर्मा, सपना सिम्खडा, प्रमेश श्रेष्ठ, अरुण महर्जन र श्याम नारायण पंगालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो क्षेत्रका मतदाताले खानेपानी, सडक, वैज्ञानिक रूपमा फोहोरमैला व्यवस्थापन गर्न सक्ने प्रतिनिधिको खाँचो रहेको औंल्याएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।

Page 5
समाचार

दलितलाई दलहरूको पुरानै आश्वासन

दलहरुले छुवाछूत अन्त्यका लागि अभियान चलाउने सतही घोषणा गरेका छन्, दृढ संकल्प र प्रस्ट कार्ययोजना ल्याएका छैनन्
- प्रकाश धौलाकोटी

(काठमाडौं)
राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा छुवाछूत र जातका आधारमा हुने विभिन्न विभेदकारी व्यवहार अन्त्य गर्न पुरानै वाचा दोहोर्‍याएका छन् । जनसंख्याको १४ प्रतिशत हिस्सा ओगट्ने दलित समुदायको भोट तान्न सामाजिक रूपान्तरणको अभियान चलाउनेदेखि आर्थिक, सामाजिक सशक्तीकरणका लागि राज्यका निकायमा पूर्ण समावेशी सिद्धान्तको पालना, शिक्षामा छात्रवृत्ति, स्वास्थ्य र रोजगारीको क्षेत्रमा विशेषाधिकार व्यवस्था गर्ने प्रतिबद्धता गरेका दलहरूको आफ्नै संरचना र निर्णय प्रक्रिया भने निश्चित समुदायको वर्चस्व र विभेदकारी सोचबाट सञ्चालित देखिन्छ ।
दलहरूले दलित समुदायका नेतालाई दलित भएकै कारण चुनाव नजित्ने भन्दै प्रत्यक्षतर्फ उम्मेदवार बनाउने गरेका छैनन् । प्रतिनिधिसभाको प्रत्यक्षमा सत्तारूढ कांग्रेसले दलित समुदायका एक जना नेतालाई पनि टिकट दिएन । एमालेले एक र माओवादीले दुई जनालाई उठाएका छन् । अन्य दलमा दलित समुदायबाट उम्मेदवारको संख्या अति कम छ । घोषणापत्रमा भने दलहरूले यस पटक पनि समावेशी सिद्धान्तको पूर्ण पालना गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । पार्टी विधानमा छुवाछूत गर्नेलाई साधारण सदस्यबाटै निलम्बन गर्ने लेखेका दलहरूले छुवाछूतमा दोषीको संरक्षण र प्रोत्साहनजनक अभिव्यक्ति दिएका नेताहरूलाई उम्मेदवार बनाएका छन् ।
एमालेले छुवाछूत प्रथा, अन्य सामाजिक विकृति र शोषण अन्त्य गरी सभ्य समाज निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । तर छुवाछूत मुद्दामा आरोपितलाई छुटाउन सरकारी गाडी लिएर प्रहरी कार्यालय पुगेका तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ यस पटक पनि काठमाडौं–९ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । श्रेष्ठले प्रहरीलाई दबाबमा पारेर छुवाछूत मुद्दाका आरोपितलाई हिरासतमुक्त गराएको आरोप छ । एमालेले यसअघि स्थानीय तह निर्वाचनमा पनि छुवाछूत मुद्दामा दोषीको खुलेआम संरक्षणमा उत्रिएका कृष्णबहादुर थापालाई पोखरा महानगरपालिकामा मेयर उम्मेदवार बनाएको थियो ।
एमालेले घोषणापत्रमा मानव अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सामाजिक सौहार्दता, जातीय सद्भाव र सांस्कृतिक सहकार्यसहितको समुन्नत समाज निर्माण गर्ने भनेको छ । त्यस्तै, मधेसी दलित, सामाजिक रूपमा भेदभावमा परेका व्यक्ति र समुदायलाई राज्यबाट संरक्षण गरी स्वरोजगार र सामाजिक रूपान्तरणको कार्यक्रम सञ्चालन गर्ने, भूमिहीन दलितलाई जमिन र आवासको व्यवस्था गर्ने, व्यावसायिक कर्जामा सहज पहुँचको वातावरण बनाउने विषय घोषणापत्रमा समेटेको छ ।
अर्को ठूलो दल कांग्रेसले दलितप्रति हुने अमानवीय विभेद र छुवाछूत अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । तर त्यसका लागि कुनै प्रस्ट कार्ययोजना प्रस्तुत गरेको छैन । कांग्रेसले घोषणापत्रमार्फत राज्यका सबै तहमा समावेशी सिद्धान्त पालना गर्ने प्रतिबद्धता जनाएको छ । लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्ने तथा समाजमा सहअस्तित्वको भावलाई बलियो पार्न पाँच ‘प’ (पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठा) सहितको जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्ने संकल्प गरेको छ । घोषणापत्रमा आफूलाई सामाजिक रूपान्तरणको संवाहक शक्ति दाबी गरेको कांग्रेसले अन्धविश्वास, रुढिवादिता, छुवाछूत र भेदभावरहित समतामूलक समाज निर्माणको प्रतिबद्धता जनाएको छ । माध्यमिक शिक्षा निःशुल्क गराउने, मधेसी, दलित, मुस्लिम, चेपाङ, हलिया, कमैया, कमलरीलाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने, छात्रालाई विद्यालय पठाउनेलगायत प्रोत्साहनका कार्यक्रम उसले अघि सारेको छ ।
सत्तारूढ माओवादी केन्द्रले घोषणापत्रमा विगतमा जस्तै छुवाछूतमुक्त राष्ट्र घोषणालाई व्यावहारिक र प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहसम्मै ‘सांस्कृतिक रूपान्तरण अभियान’ सञ्चालन गर्ने आश्वासन बाँडेको छ । छुवाछूत अन्त्यको प्रस्ट योजना भने माओवादीले उल्लेख गरेको छैन । बरु उसले जातीय विभेदकै जडमा छ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनाका विषयमा तोडमोड गरेर अभिव्यक्ति दिएका जनार्दन शर्मालाई उम्मेदवार बनाएको छ ।
माओवादीले निश्चित समयसम्म दलित समुदायलाई विशेषाधिकार दिएर उत्थान र सशक्तीकरण गर्नुपर्नेमा जोड दिएको छ । छुवाछूत र असमान प्रतिनिधित्वलाई मूल मुद्दामै समेटेर दसवर्षे सशस्त्र संघर्ष गरेको माओवादीले संविधानमा स्थापित विभेदको अन्त्य, समानता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको सिद्धान्तलगायत संवैधानिक अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । जातीय जनसंख्याका आधारमा राज्यका सबै अंगमा समान पहुँच र प्रतिनिधित्वको ग्यारेन्टी गर्ने, दलित समुदायभित्रका पहाडे, मधेसी दलित, दलित महिला र त्यसभित्रका विभिन्न जातलाई समानुपातिक रूपमा अवसरको वितरण गर्ने, निःशुल्क उच्च शिक्षा र प्राविधिक शिक्षामा छात्रवृत्ति, रैथाने सीप, कलासम्बन्धी विश्वविद्यालय स्थापनालगायत योजना समेटेको छ । अन्तरजातीय विवाह गर्नेलाई बिनाधितो सहुलियतमा १० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने, संघ र प्रदेशमा दलित विकास प्राधिकरण स्थापना गर्ने र एकीकृत विकासको अवधारणामा काम गर्ने पनि उल्लेख गरेको छ ।
एकीकृत समाजवादीले भूमिहीनलाई जग्गा दिने नीति समेटे पनि भूमिहीन दलितलाई अलग्गै सम्बोधन गरेको छैन । सो पार्टीले छुवाछूत, अन्धविश्वास, घरेलु हिंसा, दाइजो, तिलक, छाउपडी, बोक्सी जस्ता कुसंस्कारविरुद्ध सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घोषणापत्रमा विभेद र कुरीतिविरुद्ध युवा परिचालन गर्ने भनेको छ । तर, जातकै आधारमा हुने विभेदका विषयमा प्रस्ट उल्लेख छैन । संविधानले सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ । दलका संरचनामै दलित समुदायको प्रतिनिधित्व कम छ भने राज्यका निकायमा झन् कमजोर छ । संवैधानिक आयोगको नियुक्तिमा हाल दलित आयोगबाहेक अन्यमा एक जना पनि दलित छैनन् । न्यायालयमा दलितको प्रतिनिधित्व १.०८ प्रतिशतमात्रै छ भने निजामती सेवामा २.२२ प्रतिशतमात्रै दलित छन् । प्रहरीमा ९ र सेनामा ८.१४ प्रतिशत दलितको प्रतिनिधित्व छ ।
नेपाल सरकारका पूर्वसचिव एवम् अर्थशास्त्री मानबहादुर विक दलहरूले चुनावी घोषणामा यस पटक पनि दलितलाई आश्वासनमा भुलाउने प्रपञ्च मात्रै रचेको बताउँछन् । उनी छुवाछूत प्रथा समकालीन समाजको सबैभन्दा अमानवीय सामाजिक अपराध भएको बताउछन् । तर, यो प्रथा अन्त्य गर्न अहिलेको राजनीतिक नेतृत्वमा रुचि नदेखिएको उनको दाबी छ । ‘कागजी घोषणाकै कुरा गर्ने हो भने संसद् र संविधानबाटै छुवाछूत अन्त्य भइसक्यो, तर व्यवहारमा झन् जघन्य बनेको छर्लंगै छ । तैपनि दलहरूसँग सरकारमा गएर दलितको सवाल सम्बोधन गर्ने ठोस नीति र योजना देखिँदैन । घोषणापत्र हेर्दा अहिलेको राजनीतिक नेतृत्व छुवाछूत अन्त्य गर्न चाहन्छ भनेर विश्वस्त हुने आधार छैन,’ उनले भने । पूर्वसचिव एवम् अर्थशास्त्री विक दलहरूले समावेशी प्रतिनिधित्वको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यस्तो नदेखिएको दाबी गर्छन् । ‘अहिलेको आरक्षण प्रणाली दलितकै लागि लागू भएको झैं गरिएको छ तर त्यसबाट गैरदलितले लाभ उठाइरहेका छन्,’ उनले भने, ‘दलितको समावेशी प्रतिनिधित्व बढाउने हो भने अझै दशकसम्म वैज्ञानिक आरक्षण प्रणाली अपनाउनु आवश्यक छ ।’
अधिकारकर्मी हिरा विश्वकर्मा दलहरूले दलित समुदायलाई भोट बैंकमात्रै बनाउँदै आएको बताउँछन् । ‘अहिले यसै पनि घोषणापत्रको खासै महत्त्व देखिँदैन, त्यसमाथि दलितका सवालमा दलको प्रतिबद्धता कर्मकाण्डी मात्रै हो,’ उनले भने, ‘दलितका लागि दल छैनन्, सरकार छैन, बजेट पनि छैन । दलितको जीवनस्तर हिजो जहाँ थियो, अहिले पनि उही छ । हिजो जस्तो विभेद थियो, अहिले झन् जकडिएको छ ।’ उनी समाज विगतभन्दा प्रगतिशील बाटोमा उन्मुख हुनुपर्नेमा नेपालमा त्यस्तो भनिएको बताउँछन् । ‘राजनीतिक नेतृत्वको दलितप्रति दृष्टिकोण यस्तै रहने हो भने दलितले आत्मसम्मानसहितको जीवन बाँच्न पाउने अवस्था कहिल्यै आउँदैन, यही नेतृत्वबाट त्यसको आशा गर्ने ठाउँ पनि छैन,’ उनले भने ।
संविधानमा उत्पीडित दलित समुदायको अधिकार र सशक्तीकरणका लागि दुइटा अलग्गै मौलिक हक छन् । संविधानको धारा २४ ले निजी, सार्वजनिक वा कार्यस्थलमा हुने छुवाछूत र अन्य कुनै पनि आधारका विभेदलाई सामाजिक अपराधका रूपमा दण्डनीय भनेको छ भने धारा ४० ले दलित समुदायको समानुपातिक प्रतिनिधित्व, भूमिहीनलाई जग्गा र आवासविहीनलाई घर, शिक्षामा छात्रवृत्ति, स्वास्थ्य उपचारमा विशेष सुविधा, परम्परागत सीपको संरक्षण र विकासको व्यवस्था गरेको छ । तर दलित समुदायले संविधानले दिएका भूमि, जमिन, आवास र शिक्षा स्वास्थ्यसम्बन्धी यी अधिकार पाएका छैनन् । यसबारेका कानुन पनि बनेका छैनन् । दलहरूले भने भूमि, जमिन, आवास र शिक्षा स्वास्थ्यसम्बन्धी यी अधिकार कार्यान्वयनका लागि अघिल्लो निर्वाचनकै प्रतिबद्धता दोहोर्‍याएका छन् ।
नेपाली समाजमा ६ दशकअघिसम्म दलित समुदायमाथि हुने छुवाछूत र जातीय भेदभावलाई कानुनी मान्यता नै थियो । ०४७ को संविधानले जातीय आधारमा हुने भेदभावलाई निषेध गरेको छ । ०६३ सालमा संसद्ले नेपाललाई छुवाछूतमुक्त घोषणा गर्‍यो । छुवाछूत कसुर दण्डनीय हुने ऐन ०६८ सालमा जारी भयो । तर अहिले पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । दलितको शैक्षिक, आर्थिक र सामाजिक अवस्था टीठलाग्दो छ । दलहरूले भने फेरि पनि छुवाछूत अन्त्यका लागि अभियान सञ्चालन गर्ने सतही घोषणा मात्रै गरेका छन्, दृढ संकल्प र प्रस्ट कार्ययोजना ल्याएका छैनन् ।


कसको घोषणापत्रमा के ?
एमाले: छुवाछूत प्रथा, अन्य सामाजिक विकृति र शोषण अन्त्य गरी सभ्य समाज निर्माण गर्ने, सामाजिक रूपमा भेदभावमा परेका व्यक्ति र समुदायलाई राज्यबाट संरक्षण गरी स्वरोजगार र सामाजिक रूपान्तरणको कार्यक्रम सञ्चालन गर्ने, भूमिहीन दलितलाई जमिन र आवास व्यवस्था गर्ने, व्यावसायिक कर्जामा सहज पहुँच दिलाउने

कांग्रेस: दलितप्रति हुने अमानवीय विभेद र छुवाछूत अन्त्य गर्ने, लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्ने तथा समाजमा सहअस्तित्वको भावलाई बलियो पार्न पाँच ‘प’ (पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठा) सहितको जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्ने

माओवादी: छुवाछूतमुक्त राष्ट्र घोषणालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहसम्मै अभियान सञ्चालन गर्ने, निश्चित समयसम्म दलित समुदायलाई विशेषाधिकार दिने, जातीय जनसंख्याका आधारमा राज्यका सबै अंगमा समान पहुँच ग्यारेन्टी गर्ने, अन्तरजातीय विवाह गर्नेलाई बिनाधितो सहुलियतमा १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने

समाचार

बाह्रैमास बाढीको पिरलो

महाकाली र जोगबुडा नदीले घेरिएको कुतियाकभरका बान्सिन्दा उम्मेदवारहरुलाई हरेक पटक बाढी रोकथाम र सीमा समस्या समाधानको माग राख्न छाड्दैनन्
- भवानी भट्ट
कञ्चनपुरको दोधारा–चाँदनी–१० को कुतियाकभर बस्ती । तस्बिर: भवानी/कान्तिपुर

(कञ्चनपुर)
पुरन सुनार गुजरातको एक होटलमा काम गर्थे । कोरोना संक्रमणका बेला घर फर्किएका उनी त्यसयता गाउँमै तरकारी खेती गरिरहेका छन् । तर गतवर्षदेखि उनले तरकारी खेती पनि राम्ररी गर्न सकेका छैनन् । महाकाली नदीको भीषण बाढीले जग्गामा बालुवा ल्याएर बगर बनाएपछि खेती गर्न गाह्रो भएको हो । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकभरका ३५ वर्षीय सुनारलाई एकातिर बाढीको चिन्ता हुन्छ भने अर्कोतिर बेला–बेलामा भारतीय सुरक्षाकर्मीले दिने दुःखको पिरलो छ ।
कुतियाकभर महाकाली र जोगबुडा नदीको दोभानमा पर्छ । महाकालीमा बाढी आएका बेला जोगबुडा नदी थुनिएर कुतियाकभर डुबानमा पर्छ । गत वर्ष कात्तिकमा पनि त्यही भयो । महाकालीमा भीषण बाढी आउँदा बहाव थुनिएर जोगबुडाको बाढी बस्तीमा पस्यो । ४० घर डुबानमा परे । भाग्ने ठाउँसमेत रहेन । सुरक्षाकर्मीले र्‍याफ्टिङ बोटबाट उद्धार गरेर उनीहरूको ज्यान जोगाए । त्यतिबेला वृद्धवृद्धा र गर्भवतीको ज्यान जोगाउन निकै मुस्किल भएको स्थानीय बताउँछन् । ‘महाकालीपारि दोधारा–चाँदनी दुर्गम भन्छन्, दोधारा–चाँदनीबाट पनि हामी दुर्गम भएका छौं,’ सुनारले भने, ‘यहाँ बर्खामा मात्रै होइन हिउँदमा समेत नदीले कटान गरिरहेको छ ।’ उनका अनुसार वर्षामा बाढी प्राकृतिक रूपमै आउने भए पनि अरू बेला जोगबुडा नदीमा भारतीय पक्षले शारदा नहरको पानी छाड्दा हिउँदमा समेत डुबान–कटान हुने गरेको छ । जसका कारण कुतियाकभर बाह्रै महिना जोखिममा रहने गरेको उनी बताउँछन् ।
 तीनतिर महाकाली र जोगबुडा नदीले घेरिएको कुतियाकभरमा ४० परिवारको बसोबास छ । कुतियाकभरमा पश्चिम–दक्षिणतर्फ भारत छ । उत्तरप्रदेशको पिलिभित जिल्लाको बंगाली बस्तीसँगै जोडिएको छ, कुतियाकभर । यहाँका अधिकांश घरको आँगन दसगजासँगै जोडिएको छ । हिँडडुल गर्ने बाटो पनि त्यही
दशगजा हो । यही कारण बेला–बेलामा सीमा क्षेत्रमा विवाद पनि हुने गरेको छ ।
 मत माग्दै घरदैलोमा पुग्ने उम्मेदवार तथा राजनीतिक दलका नेतासँग यहाँका बासिन्दाले नदी किनारमा तटबन्ध र सीमामा सहज आवागमनको माग गर्दै आएका छन् । यो अहिलेको मात्रै माग होइन । हरेक निर्वाचनमा जनताको माग र नेताको आश्वासन यही बन्ने गरेको छ । तर त्रासमा बाँच्नुपर्ने अवस्था अझै अन्त्य नभएको उनीहरू बताउँछन् । ‘पोहोर त घरमा खम्बा समातेर ज्यान जोगायौं, अन्न र लुगाकपडादेखि गाईभैंसी सबै बगाएर लग्यो,’ स्थानीय वसन्ती सुनारले भनिन्, ‘सधैं यो त्रासमा बाँच्नुभन्दा हामीलाई अन्यत्रै स्थानान्तरण गरिदिनुपर्‍यो ।’ कटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गर्न नसके उचित स्थानमा बस्ती नै सार्न उचित हुने उनको भनाइ छ ।
 कुतियाकभर जोगबुडा नदीपारि छ । आउजाउ गर्नका लागि जोगबुडामा झोलुंगे पुल हालिएको छ । तर बर्खामा दुवैतर्फ बाढी भरिएर पुलमा पुग्नै नसकिने हुन्छ । बाढी आएका बेला ज्यान जोगाउन सीमा क्षेत्रको बंगाली बस्तीको अग्लो ठाउँमा जानुपर्ने स्थानीय बताउँछन् । कुतियाकभरका बासिन्दा किनमेलदेखि औषधोपचारका लागि सीमापारि भारतीय बजारमा निर्भर छन् । तर सीमामा आउजाउ गर्दा भारतीय सुरक्षाकर्मीले बेला–बेलामा दुःख दिने गरेको उनीहरूको गुनासो छ । कैयौं पटक एसएसबी बस्तीमै पसेर धम्क्याउने गरेको उनीहरूले दुखेसो पोख्ने गरेका छन् । दशगजाको बाटो भएर धान, गहुँ तथा तरकारी ढुवानी गर्दासमेत दुःख दिने गरेको सुनार बताउँछिन् । ‘एसएसबीलाई सोधेर मात्रै धान–गहुँ ल्याउन पाइन्छ, नत्र ल्याउन दिँदैनन,’ उनले भनिन्, ‘बर्खामा नदी किनारको बाटोमा हिँडडुल गर्नै सकिन्न, दशगजाको बाटोमा एसएसबीले हिँड्न दिँदैन ।’ कुतियाकभरमा अधिकांश दलित समुदायको बसोबास छ । यहाँका हरेक घरबाट युवाहरू रोजगारीका लागि दिल्ली, गुजरात र मुम्बई लगायतका भारतीय सहरमा पसेका छन् । अधिकांश युवा होटल लाइनमा काम गरिरहेको पुरन सुनार बताउँछन् । पुरन पनि ५ वर्ष गुजरातमा होटलमै काम गरेर घर फर्किएका हुन् । ‘हाम्रो मुख्य समस्या नदी कटान र डुबान तथा सीमाकै हो,’ स्थानीय शेरबहादुर टमटा भन्छन्, ‘यो माग जसले पूरा गर्ने प्रतिबद्धता र योजना ल्याउँछ उसैलाई भोट दिन्छौं ।’ उक्त बस्तीमा एक सयभन्दा बढी मतदाता छन् । बस्तीका सबै मतदाता मतदानका लागि एकजुट हुन्छन् ।
गाउँको मुद्दा सम्बोधन हुने आश्वासन वा प्रतिबद्धताकै आधारमा मतदान गर्दै आएका छन् । कुतियाकभर तरकारी खेतीका लागि परिचित छ । यहाँ भन्टा, परवल, तरुल, मुलालगायत अन्य बेमौसमी तरकारीसमेत उत्पादन हुन्छ । अधिकांशले सीमावर्ती बजार खटीमा पुगेर तरकारी बिक्री गर्दै आएका छन् । तर कतिपयले मोटरसाइकलमा बोकेर महेन्द्रनगर पुर्‍याउँछन् । भारततर्फ लैजान पनि एसएसबीले दुःख दिने भएकाले उनीहरू २५ किलोमिटर मोटरसाइकलमा ढुवानी गरेर महेन्द्रनगर पुर्‍याउने गर्छन् । ‘गाउँमै वा नगरपालिकाभित्र उपयुक्त ठाउँमा तरकारी संकलन केन्द्र राख्नुपर्ने पनि हाम्रो माग छ,’ कुतियाकभरबाट तरकारी बोकेर महेन्द्रनगर पुग्ने गरेको खड्के बुढा भन्छन्, ‘भोट माग्न आउँदा सबै हुन्छ भन्छन्, तर त्यसपछि कोही वास्ता गर्दैनन् ।’
 दोधारा–चाँदनी परवल खेतीका लागि परिचित छ । एकदशकअघिसम्म यहाँको परवल दिल्लीसम्म पुग्थ्यो । एउटै परिवारले ८/१० क्विन्टलसम्म परवल बिक्री गर्थे । व्यापारीहरू ट्रक लिएर सीमासम्मै पुग्थे । तर भारतले क्वारेन्टिन परीक्षणका बहानामा नेपाली परवल रोकेपछि कृषकहरूले उक्त खेती नै छाडे । अहिले थोरै परिवारले मात्रै परवल खेती गर्छन् । बिस्तारै नेपालतर्फ पनि बजार बढ्न थालेका कारण परवल खेतीतर्फको आकर्षण पुनः बढ्न सक्ने देखिन्छ । त्यही भएर तरकारी हाटबजारदेखि संकलन केन्द्र स्थापनाको माग हुन थालेको हो । जोगबुडा र महाकाली नदीको बीचमा रहेको दोधारा–चाँदनी टापु नगरपालिकाका रूपमा छ । जोगबुडापारि पनि भारतसँगै आँगन जोडिएका अन्य बस्तीहरू नदी कटान र डुबानको समस्या छन् । कुतियाकभरसँगै ३ नम्बर वडाको बडुवाल टोल, ७ को कञ्चनभोज र ८ को सुन्दरनगर बस्तीहरू भारतसँगै जोडिएका छन् ।

Page 6
सम्पादकीय

बारपाकका बाँकी टहरा: पुनर्निर्माण अभियानले छाडेको प्रश्न

साढे सात वर्षअघि गएको भूकम्पको इपिसेन्टर बारपाक त्यसयता चलेको राष्ट्रिय पुनर्निर्माण अभियानको पनि एउटा ‘इपिसेन्टर’ जस्तै थियो । यसबीच बारपाक मात्र होइन, देशभर पुनर्निर्माणका अधिकांश काम सकिएका छन् । पुनर्निर्माण प्राधिकरण विघटन भएकै एक वर्षभन्दा बढी भैसक्यो । सम्बन्धित कामहरू सरोकारवाला मन्त्रालय/निकायलाई जिम्मा लगाउँदै प्राधिकरण बन्द गरिएको हो । तर, बारपाकमै पनि २४ दलित घरपरिवार भने अझै टहरामै बस्न बाध्य छन् । सरकारी राहतदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा बारपाकभर १४ सय पक्की घर ठडिइसक्दा पनि उनीहरू साँघुरा टिनका छाप्रामै जीवन काट्दै छन् । कारण जे भए पनि, एकै बस्तीमा अहिलेसम्म यति धेरै घर बन्न नसक्नु भूकम्पपछिको पुनर्निर्माणमाथिको एउटा प्रश्न हो ।
भूकम्पले घर भत्काएपछि बारपाकको गैरीगाउँ र डाँडागाउँका ३२ घरपरिवार अलि तलको सरकारी जग्गामा सरेर टहरो हालेर बसेका थिए । तिनै ३२ मध्ये २४ परिवार अद्यापि टहरामा छन् । दलितहरूको बसोबास रहेको करिब सात रोपनी खण्डहर जग्गामा प्राधिकरणले ‘भूकम्प स्मृति जीवित संग्रहालय’ बनाउने योजना अघि सारेकाले उनीहरूको पुनर्बसोबास अलपत्र परेको हो । कारण, अन्यत्र सरकारी जग्गा मुआब्जास्वरूप दिइने सर्तमा केहीले प्राधिकरणलाई लालपुर्जा बुझाए पनि यसमा सबै गाउँले सहमत भएनन् । पुरानो थातथलोमा बस्ने र मुआब्जा लिएर नयाँ ठाउमा सर्ने भन्ने दुई समूहलाई स्थानीय राजनीतिक दलहरूले आ–आफ्नो मुद्दा नै बनाए । केही सरकारी राहत लिएर केही पुरानै थातथलोमा घर बनाएर बस्न थाले भने यी २४ परिवार प्राधिकरणको नीतिलाई पछ्याउँदै सरकारी जग्गामै बसे । तर पनि राजनीति किचाघान र सरकारी निर्णयहीनताका कारण पुनर्बासको प्रबन्ध त परको कुरा, अहिलेसम्म उनीहरूले सट्टा जग्गाको लालपुर्जाधरि पाएका छैनन् ।
यसरी टहरामा बस्नुको कष्ट कम्ती छैन । सहरी विकास विभागले बनाइदिएका ४ वटा शौचालय र ४ वटा बाथरुम २४ घरका निम्ति पर्याप्त छैनन् । हिउँदमा शीत चुहिन्छ, बर्खामा पानी । बालबालिका र वृद्धवृद्धा बारम्बार बिरामी पर्छन् । हावाहुरी आउँदा आगो फुक्न सक्दैनन् । कति बेला धुरी उडाउला भन्ने चिन्ता त छँदै छ । सरकारले भरपर्दो विकल्प उपलब्ध नगराएमा आठ वर्षा र सात हिउँद टहरामा बिताइसकेका उनीहरूले थप हिउँद–वर्षा पनि कष्टपूर्वकै गुजार्नुपर्नेछ ।
समस्याको सहज समाधान भने पक्कै छैन । एकातिर, पुरानो बस्ती भौगर्भिक रूपमा जोखिमयुक्त रहेको भन्दै टहरामा बस्नेहरू त्यहाँ सर्न इच्छुक छैनन् । सरकारी जग्गामा बस्ने विस्थापित र थातथलोमा बस्ने भन्नेहरूबीचको विवाद यथावत् छ । अर्कातिर, सरकार पनि अन्योलमा देखिन्छ । गत साउन ९ मा मन्त्रिपरिषद् बैठकले बारपाकको ६ रोपनी १० आना ३ पैसा जग्गा सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको छ । उक्त बैठकले भूकम्पपीडितको जग्गा भूकम्प स्मृति पार्क निर्माणका लागि ‘भूकम्प स्मृति पार्क, गोरखा’ को नाममा प्राप्त गर्ने र त्यसरी प्राप्त हुन आएको जग्गामा नबढ्ने गरेर सट्टाभर्ना दिने निर्णय गरेको हो । तर मन्त्रिपरिषद्को निर्णय सबै दलित बस्तीका बासिन्दाका निम्ति लागू हुने हो वा सरकारी जग्गामा बसेकाहरूको हकमा मात्रै भन्ने प्रस्ट छैन । यसबारे स्पष्ट निचोडमा नपुगेमा समस्या थप लम्बिने देखिन्छ ।
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयको केन्द्रले संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीलाई पत्र पठाइसकेको छ । यो निर्णयको कार्यान्वयन समस्याको गाँठो फुकाउने गरी हुनुपर्छ, अझ बल्झाउने गरी होइन । संग्रहालय बनाउने निर्णय गर्दा नै प्रभावित सबैको सहमति नलिइएकाले समस्याको गाँठो धेरै कसिएको यहाँ स्मरण गर्नुपर्छ । र, त्यति बेलाको गल्ती पुनः नदोहोरिने गरी सरकार उचित टुंगोमा पुग्नुपर्छ । यस क्रममा विवादका दुवै पक्षको चित्त बुझाउनुपर्छ । ताकि, टहरामा बसिरहेकाहरूले घर बनाउनका निम्ति जग्गा पाऊन्, थातथलोमा घर बनाएकाहरूको उठिबास लाग्छ कि भन्ने चिन्ता पनि दूर होस् ।
अब पनि उचित उपाय खोजिएन भने टहरामा बस्न बाध्य पीडितहरूले थप दुःख त पाउने नै छन्, राष्ट्रिय पुनर्निर्माण अभियान पनि अपुरो नै रहनेछ । भूकम्पको इपिसेन्टरकै पुनर्निर्माणमा राटो भेटिनु आफैंमा लज्जाको विषय बन्नेछ । त्यसैले सबै तहका सरकार र सरोकारवाला यसमा गम्भीर हुनुपर्छ । भूकम्पपीडितको व्यक्तिगत आस्था र दलीय राजनीतिबाट माथि उठेर स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाले यसमा पहल गर्नुपर्छ । र, विज्ञसहितको सरकारी टोलीले स्थलगत अध्ययन र सर्वपक्षीय छलफल गरी यथोचित निर्णय लिएर समस्याको समाधान गर्नुर्पर्छ । आशा गरौं, सम्बन्धित निकायहरूले उनीहरूको समस्याको तीव्र समाधान खोज्नेछन् । अनेकौं आश्वासनका पन्तुराहरू बोकेर घरदैलो डुलिरहेका उम्मेदवारहरूले पनि चुनाव जितेपछि उनीहरूलाई भुल्नेछैनन् ।

दृष्टिकोण

गठबन्धनले खोसेको छनोटको अधिकार

- प्रदीपकुमार उपाध्याय

राजनीतिको चित्र–चरित्र सङ्लिँदै जानुपर्नेमा झन्झन् धूमिल, असंगत र अपारदर्शी बन्दै गएको छ । परिवारवाद, नातावाद र कृपावादमा मात्रै अलमलिएको छ राजनीति । त्यो उम्मेदवार छनोटमा पनि प्रतिविम्बित भएको छ । चुनावी मैदानमा देखिएका प्रायः पात्र–प्रवृत्तिबारे जनधारणा के छ भन्ने कुरा कतै लुकेको छैन । त्यसले चुनावी परिणाम थाहा पाउन मंसिर ४ सम्म पर्खिनु नपर्ने संकेत गरेको छ, धेरै हदसम्म ।
अहिले एकातर्फ सत्ताधारीहरूको गठबन्धन छ भने अर्कातर्फ एमालेको अगुवाइको । दुइटै गठबन्धनमा मूल्य, मान्यता, आदर्श, नैतिकताको खडेरी छ । सबै पार्टी र नेताहरू आफ्नो सिद्धान्त, आदर्श र चरित्रबाट स्खलित हुँदैहुँदै यहाँसम्म आइपुगेका हुन् । नागरिक सर्वोच्चता कायम हुनुपर्ने यस प्रणालीमा नेताहरूले आमजनलाई आफ्ना पछुवा हैसियतको सम्झिने गरेका छन् । यस अवस्थाले लोकतन्त्रमा विश्वास गर्ने, मानवीय आदर्श मान्ने र राष्ट्रियतालाई शिरोपर गर्ने चेतनशील नागरिकहरूलाई चिन्तित तुल्याएको छ ।
मैले बालुवाटार पुगेरै धेरैचोटि भनें, ‘तपार्इंहरू सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै गठबन्धनको नाटक नगर्नुस् । आआफ्नो क्षमता र हुतीमा पार्टीहरू चुनावमा जाने साहसी निर्णय गर्नुस् । स्पष्टै छ, यो समानुपातिक प्रणालीमा कसैको पनि बहुमत हुँदैन, आउन दिइँदैन पनि । यो त अन्तर्राष्ट्रिय डिजाइन हो, नेपालमा जति अस्थिरता भयो विश्वशक्तिलाई खेल्न त्यति सजिलो । हामी फसिसकेका छौं ।’
सबैले कुरा त आदर्शका गर्छन्, काम भने आफूलाई जे अनुकूल हुन्छ त्यही गर्छन् । उम्मेदवार चयनमा देखिहालियो, आफ्नै नाता, आफ्नै कोटरीभन्दा बाहिर जान सकेनन् नेतृत्व तहमा रहेकाहरू । हामीले समावेशी–समानुपातिक निर्वाचन प्रणाली भन्यौं, त्यो कहाँ, कसरी प्रतिविम्बित भएको छ त ? नेताहरूलाई बाध्यतावश समेट्नुपरेको दलित समुदायका व्यक्तिमध्ये पनि ‘सम्पन्न दलित’ खोजियो, आदिवासी–जनजातिमा पनि आर्थिक सम्पन्नतालाई नै आधार बनाइयो । जो सीमान्तीकृत छ, जो उपेक्षित छ, ऊ दृश्यमा कहीँ छैन । सिद्धान्त र आदर्श त भन्ने कुरा न हुन् !
अवस्था कस्तो भइसकेको छ भने, इमानदार र चरित्रवान् १० जना मात्रै व्यक्ति मात्रै चुनिएर आउन सके पनि संसद्को गरिमा र ओज कायम रहन्थ्यो कि भन्ने भएको छ । नागरिकसँग छनोटको विकल्प कम छ । जो राष्ट्रवादी र मानवतावादी छ एवं स्पष्ट दृष्टिकोणसहित सच्चरित्रता, नैतिकता र इमान कायम राख्न सक्छ र जसमा केही आध्यात्मिक चेतना पनि छ, उसैलाई छान्नुपर्ने बेला आएको छ ।
किसुनजी भन्नुहुन्थ्यो, ‘अवसर नपाउन्जेल त सबै राम्रा हुन् । अवसर पाएर पनि जो इमान, नैतिकता, चरित्रमा अड्छ, त्यसैलाई असल भन्नुपर्ने हुन्छ ।’ त्यसैले गठबन्धन भन्दैमा सचेत वर्ग र समुदायले अपसंस्कृतिलाई बढावा दिनेहरूलाई जोडबल नलगाएकै बेस हुन्छ, किनकि त्यस्ताले ढिलो वा चाँडो असहिष्णुतालाई नै पराकाष्ठामा पुर्‍याउने हुन् ।
लोकतन्त्र कसैबाट निर्देशित हुन हुँदैन, निर्देशित भइदियो भने त्यो त अर्को तानाशाही हुन्छ । तर, हामीकहाँ लोकतन्त्र गलत बाटोतिर लैजाने गरी निर्देशित भइरहेको छ । यो परिपाटीले जन–असन्तुष्टि बढाउँदै लगेको छ, जसले कुन बाटो लेला, अहिल्यै भन्न सकिन्न । राजनीतिक नेतृत्वहरूको अदूरदर्शिताले देशलाई झन्झन् पछिल्तिर धकेल्दै लगेको छ । केही दशकअघिसम्म विकासमा हाम्रै स्तरमा रहेका मुलुकहरू आज कहाँ पुगिसके, हामी भने जहाँको तहीँ छौं ! आज हाम्रो वैदेशिक ऋणको भार कहाँ पुग्यो, परनिर्भरता कतिसम्म पुग्यो ? हामी विकासको सूचकांकमा उभिएका छौं ? मानवीय दृष्टिकोणले हामी कता लम्किरहेका छौं ? प्रश्नहरू मननीय छन् ।
वर्षौंसम्म विचार, सिद्धान्त र आदर्शको पक्षधर रहेका अग्रज नेताहरू अहिले समाजवाद र साम्यवाद भनेका एकै हुन्, रूख वा हँसिया–हथौडा एकै हुन् भन्दै हिँडिरहेका छन् । आदर्श, नैतिक मूल्य–मान्यता वा सिद्धान्तको राजनीति कुन चरीको नाम हो भनी खोज्नुपर्ने बेला भएको छ । आशावादी हुन सकिने एउटै आधार भनेको, लोकतान्त्रिक चेतना भएका र औंलामा गन्न सकिने दुई–चार राष्ट्रवादी व्यक्तिले आसन्न दुर्घटनाको कहीँकतैबाट आकलन गरिरहेका छन् कि भन्ने मात्र हो । देशलाई भड्खालोमा जाकिनबाट जोगाउने पनि यिनै हुनेछन् ।
कटु यथार्थ भनौं, ‘हङ पार्लियामेन्ट’ को जग हामीले संविधानमै राखिसकेका छौं । सिट कसको घटी वा बढी भन्ने मात्रै हो । संसद्मा केही राम्रा मान्छे आऊन् र प्रभाव छाड्ने काम गरून्, कामना यत्ति छ । हामीले के बिर्सनु हुन्न भने, मतपत्रमा छाप नलगाउन्जेल सार्वभौमिकता जनताकै हातमा हुन्छ, छाप लगाइसकेपछि त्यो अधिकार रहन्न । यही आधारलाई समाएर नेताहरूले खेल्दै आएका छन् । नेताहरूले आफ्ना कार्यकर्ता र आम जनतालाई यही बहानामा अनुशासनको डन्डा वा प्रलोभन देखाएर आफ्नो स्वार्थसिद्ध गर्दै आएका छन् । यो विडम्बनाको अन्त्य जरुरी छ । गत स्थानीय तह चुनावमा पनि केही सहरी क्षेत्रमा नेताहरूको घमन्ड र भ्रमलाई केही मात्रामा भए पनि चिर्ने कामको सुरुआत त भएको छ, तर त्यस्ता परिणामहरू आउने दिनमा नेताहरूलाई शिक्षा दिलाउने तहमा पुगेकै छैनन् ।
नेपाली कांग्रेसजस्तो गौरवशाली इतिहास भएको पार्टीमा समेत आज एकअर्काको परामर्श लिने वा बौद्धिक अन्तरक्रिया गर्ने पद्धती पूरै हराइसकेको छ । यो परम्परा बसाउनै सकिएन, जसमा हाम्रो नैतिक जिम्मेवारी पनि छँदै छ । कांग्रेसले अहिले निकालेको राजनीतिक घोषणापत्र हेरौं न, जसमा देशले पत्याएका हाम्रा स्वर्णिम वाग्ले, गोविन्द पोखरेलहरू लागेका थिए, तर घोषणापत्र ऊँट बनेर आइदियो । संविधानमा सिंगो पद्धतिलाई समाजवाद–उन्मुख भनेर लेख्नेÙ शिक्षा, स्वास्थ्य, रोजगारीसहितका आधारभूत कुराहरू उपेक्षित वर्गलाई उपलब्ध गराउने भन्नेÙ परिणामचाहिँ के आयो त ? सत्तामा जो गए पनि राष्ट्रिय बजेटसम्म खर्च गर्न नसक्ने भएका छौं हामी । यसको एक मात्र कारण हो— कुशासन, भ्रष्टाचार । आचरणमै स्खलन आएर यस्तो भएको हो । साधारण खर्च चलाउनसम्म ऋण नलिई नसक्ने अवस्थामा पुगिसकेको छ देश । विदेशमा दुःख गरिरहेका नेपालीले रेमिट्यान्स नपठाउने हो भने राष्ट्रिय अर्थतन्त्र ‘कोल्याप्स’ हुने संकेत देखिइसकेको छ । स्रोत–साधन बढोत्तरीको कुनै ग्यारेन्टी छैन । केवल वितरणमुखी बजेटको होडबाजी छ । सरकारले बिनास्रोत वितरणमुखी बजेट ल्याउने गरेको छ । स्रोत जुटाउने, नागरिकमा समस्या नथपी राजस्व बढाउने तार्किक योजना बनाउने सामर्थ्य कुनै पार्टीको सरकारमा पनि देखिएको छैन ।
यस पटकको चुनावमा हाम्रो समाजमा परीक्षण हुन बाँकी र समाजले केही आशा गरेका व्यक्तिहरूले पनि भाग लिएका छन् । तर, यिनै आशालाग्दाहरूबीच पनि सहकार्य देखिएको छैन, जुन सबैभन्दा दुःखद पक्ष हो । सबैको लक्ष्य एउटै भए पनि बाटा अलग–अलग । यसले गर्दा जो अलिकति संगठित छ, उसैलाई फाइदा हुने नै भयो । परिवर्तन चाहने व्यक्तिहरू न्यूनतम साझा कार्यनीति बनाई संगठित भएर चुनावी मैदानमा होमिनुपर्ने समयको माग थियो । त्यस्तो हुन नसक्नु अर्को विडम्बना हो ।
त्यस्तै, पाँच–छ व्यक्तिले आफू प्रधानमन्त्रीको उम्मेदवार भन्दै भोट मागिरहेका छन्, जुन आफैंमा हाँसउठ्दो स्थिति हो । आफूलाई भविष्यको प्रधानमन्त्री भनेपछि केही भोट बढ्छ कि भन्ने तिनीहरूको सोचाइ होला । तर, संसद्मा विभिन्न पार्टीका सांसद जोडजाड गरेर जसले बहुमत पुर्‍याउन सक्ला, त्यही पार्टीको व्यक्तिले विश्वासको आधार बनाउन सक्छ ।
कांग्रेसमा नेतृत्वको अन्तरसंघर्ष चरमोत्कर्षमा छ । म सम्झन्छु— दुई वर्षअघि मात्रै प्रदीप गिरिसँग दलगत र संगठनात्मक सुधारका लागि गर्न सकिने पहलबारे विभिन्न चरणमा परामर्श भएको थियो । पछि संसदीय र पार्टी संगठनका कुराहरू निस्किए, म कुनै पनि गुटमा लागिनँ । त्यसले गर्दा सभापति शेरबहादुर देउवालाई ‘दीपले मेरो साथ छोड्यो’ भन्ने लाग्यो, शेखर कोइरालालाई पनि ‘दीप मेरो गुटमा आएन’ भन्ने भयो । ठीकलाई ठीक, बेठीकलाई बेठीक भन्ने दृष्टिकोणमा म रहिरहें । यसले गर्दा दुवैतर्फको स्वार्थ बन्धनमा परिनँ ।
समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवार छनोट प्रक्रिया पारदर्शी नबनाएसम्म सिद्धान्तको रटानको अर्थ रहन्न, लोकतन्त्रको अर्थ र उपादेयता रहन्न । उम्मेदवार चयनमा विगतमा ज्येष्ठता, निरन्तरता, लोकप्रियता, क्षमताजस्ता आधारहरू हुने गर्थे । अचेलचाहिँ कुनै ‘स्पोन्सर्ड’ प्रतियोगिता र फिक्स्ड म्याचझैं उम्मेदवारहरूको चयन हुने गर्छ ।
पार्टीपिच्छे आ–आफ्ना कार्यदल छन्, संसदीय समिति छन् तर कहीँकतै उम्मेदवार वा उम्मेदवारीका आधारभूत पक्षमा बहस त के, कुराकानीसम्म भएको पाइएन । कुनै एउटा चुनाव क्षेत्रको कुरा मात्रै होइन, सिंगै देशभर राजनीतिक स्वाभिमान र मर्यादाको प्रश्नमा सबै पार्टी चुके । टिकट र सिट सबैलाई दिन नसक्नु स्वाभाविक हो, तर छनोटमा निर्दिष्ट आधारभन्दा भागबन्डाको तुरुप मात्रै मान्य बनाएर जनाधारलाई बेवास्ता गरियो । आफ्ना लागि ठाउँ बनाउन र आफ्नै परिवारजनलाई समानुपातिकमा राख्नैका लागि गठबन्धन गरिएको हो भने परिणामको जवाफदेह को हुने ? यति हत्ते गरेर रोजिएका उम्मेदवार र दिइएको भूमिका भोलि धूलिसात् भए भने त्यसको नैतिक जिम्मेवारी लिने कसले ? नीति, नियम र विवेकमा कांग्रेसजस्तो गहकिलो इतिहास भएको पार्टी अरूझैं यसरी चुक्नु हुन्नथ्यो ।
लोकतन्त्रमा नागरिक भनेका सर्वोच्च स्थानमा रहने सूत्रधार हुन् । तर गठबन्धनको विकृतिसामु जनता कहीँकतै छैनन् । मत हाल्न पाउने जनताको अधिकारमाथि जेजसरी निर्देशनात्मक तवरमा घात गरिएको छ, यसको परिणाम अनपेक्षित रूपमा घातक हुनेवाला छ । यसकारण पनि गठबन्धनजस्तो विकृतिको विरोधमा उभिनुपरेको हो । यसरी भागबन्डा गरेर कोहीकसैलाई ‘पाखा लगाइयो’ भन्ने सोचिएको हो भने अब बल्ल राजनीति सुरु भएको छ, इमान र मर्यादाको हिसाबमा बाँचुन्जेलको लडाइँ बल्ल सुरु भएको छ ।
एक थरी मान्छेहरू ‘राजनीतिबाट अब दीपकुमारजीलाई पाखा लगाइयो’ भन्दै रहेछन् । म त ‘बल्ल सुरु भयो’ भन्छु । कांग्रेसमा शुद्धीकरण अभियानका लागि मेरो भूमिका अब सुरु हुन्छ । गठबन्धनको धङधङीले देशको भलो हुँदैन भन्ने वास्तविकतालाई प्रमाणित गर्न म लागिपर्नेछु । मजस्ता हजारौं छन् ।
गठबन्धनका कारण कांग्रेसका कार्यकर्ताको स्वाभिमान र मर्यादा धूलिसात् भएको छ । राजनीति र शासनमा शुद्धीकरणको कुरा भइरहेका बेला लहडको राजनीतिले सबैतिर गाँजेको छ । यसका कारक अहिलेसम्म भए–गरेका अपारदर्शी कामकुरा हुन् । नेताहरूको प्रवृत्ति, अराजक शासनशैली । आउने दिनको राजनीतिलाई यसले अझ विकृत र कुसंस्कारयुक्त बनाउँदै लैजाने स्पष्ट छ ।

उपाध्याय पूर्वराजदूत एवं नेपाली कांग्रेसका नेता हुन् ।

सम्पादकलाई चिठी

बिजुली गाडीको संख्या बढाऔं


'कम खर्चको बिजुली गाडीमा आकर्षण’ समाचारमा acebook.com/eKantipur बाट लिइएका टिप्पणी :

यी विद्युतीय सवारीमा व्यापारीले अत्यधिक नाफा राखेका छन्, सरकारले नियमन गर्न सकेको छैन, यतातिर पनि ध्यान दिनुहुन अनुरोध गर्छु ।
– राजेन्द्र अर्याल

अबको २० वर्षपछि ८० प्रतिशत गाडी बिजुलीबाट चल्ने हुन्छन् । पेट्रोल–डिजलको युग सकिएर बिजुलीको युग सुरु हुन्छ । तेलका कारण जसरी खाडी मुलुक धनी भइरहेका छन्, नेपाल पनि बिजुली उत्पादनका कारण धनी हुन सक्छ । राम्रो मान्छे नेतृत्वमा पुग्यो भने यो सम्भव छ ।
– क्षत्री केल

नेपाल र नेपालीका लागि सुखद खबर । विद्युत्को पैसा मात्र हेरेर हुन्न सँगै ब्याट्रीको पैसा पनि जोडिन्छ । एउटा ब्याट्रीको आयु चार वर्षसम्मको हुन्छ । त्यसपछि नयाँ ब्याट्री किन्नुपर्दा महँगो पर्छ । त्यसैले विद्युतीय गाडीमा चढ्दा विद्युत् खर्च र ब्याट्रीको पैसा नि जोडिन्छ ।
– अनमोल श्रेष्ठ

कुरा राम्रो तर डिजेल गाडीले भन्दा बढी भाडा असुलेको कुन निकायले नियमन गर्ने ? यस्तो हुने हो भने सर्वसाधारणलाई ‘हर्ष न विस्मात !’
– युवराज कोइराला

भाडा पनि कम भए यात्रुले बिजुली गाडी खोजीखोजी चढ्नेछन् ।
– रमेश भट्टराई

लागत नै कम छ भने भाडा कम गरेर यात्रु सुविधालाई सुनिश्चित गरियोस् ।
– अज्ञात

सरकारले राजमार्ग अन्तर्गतका हरेक जिल्लामा कम्तीमा १–१ वटा चार्जिङ स्टेसन बनाई बिजुली गाडी सञ्चालनलाई प्रोत्साहन गर्नुपर्छ ।
– योग रजनी

गाडीले मात्र कमाउने कि जनताले पनि सहुलियत पाउने ?
– विष्णुप्रसाद पँगेनी

ब्याट्री स्वस्थ भइन्जेल फाइदा नै फाइदा, तर ब्याट्री परिवर्तन गर्नलाई अर्को मोटो बजेट चाहिन्छ ।
– मनकुमार राई

बाह्य ऊर्जा र इन्धनबाट चाँडै पूर्ण रूपमा मुक्त हुनुपर्छ । नेपालको आर्थिक समृद्विको सम्भावना र भविष्य यही नै हो ।
– सुनील मोक्तान

पेट्रालियम पदार्थमा निर्भर मुलुकहरू जसरी अहिले धनी भएका छन्, अबको भविष्य बिजुली सवारीसाधन भएकाले नेपाल पनि यसको उपयोगबाट धनी हुन सक्छ । तर यो कुरा बुझ्ने युवाहरू राजनीतिमा आउनुपर्छ ।
– सतिश गौतम

बिजुली गाडीको संख्या बढाउन सके विदेशी मुद्रा सञ्चिति पनि बढ्छ ।
– उमेश बराल

सम्पादकलाई चिठी

घोषणापत्रको औचित्य

यति बेला ठूला दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा सबैको ध्यान केन्द्रित भएको छ । आफूले सुनेका, देखेका र कोठामा बसेर कोरेका विषयवस्तुलाई विकासप्रेमी जनताले विश्वास गरेका छैनन् । पाँच वर्षअघि वाचा गरेका विकास कार्यक्रमहरूको छेउसम्म कोट््याउन नसक्ने दलहरूले आफ्नो नाक काटिएका थाहै नपाई पुनः उडन्ते गफलाई प्रसय दिनु विडम्बनापूर्ण छ । विकासका ठूला गफ गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले चोचोमोचो मिलाएर नेकपा बनाएको हिजोअस्तिजस्तो लाग्छ । ४१ महिनामा ओली सरकार ढलेको, कम्युनिस्ट पार्टीहरू बामे सर्न नसक्ने गरी छिन्नभिन्न भएको सन्दर्भ होस् या मौका छोपेर, सिद्धान्त बिर्सेर सत्ताका निम्ति जोसँग पनि गाँसिन तत्पर नेपाली कांग्रेस नै किन नहोस् सबैले मुलुकलाई दलदलमा फसाएको तीतो यथार्थलाई कसैले भुल्न सक्दैन ।
विगतमा माओवादी केन्द्रले पाँच वर्षमा पूर्वपश्चिम, उत्तरदक्षिण रेलमार्ग बनाउने, पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लगायतका कपोलकल्पित योजना बनाएको, अन्य दलले पनि लाखौंलाई रोजगारी दिने, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, विकास निर्माणमा अभूतपूर्व सफलता प्राप्त गर्ने घोषणा गरे पनि कसैले सिन्कोसम्म भाँच्न सकेनन् । यसपालि माओवादी केन्द्रले फेरि पाँच वर्षमा आठ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, लाखौंलाई रोजगारी दिनेजस्ता अविश्वनीय योजना अघि सारेको छ । उता नेपाली कांग्रेसले साढे १२ लाख व्यक्तिलाई रोजगारी दिने लिखित प्रतिबद्धता अघि सार्दा नेकपा एमालेको घोषणापत्रमा पाँच वर्षभित्र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ लाख परिवारलाई खाद्य सुरक्षाको प्रबन्ध मिलाउने, २५ लाख रोजगारी सृजना गर्ने हास्यास्पद योजना अघि सारेको छ । ठूला दलहरूले यस्तै असम्भव योजनाअघि सारेर चुनावी माहोल तताए पनि जनताले विगतमा भएका भ्रष्टाचार तथा अत्याचार बिर्सेका छैनन् । नेतृत्वबाट पटकपटक धोका पाउने सर्वसाधारण लुटेरा पद्धतिको निरन्तरता भएसम्म घोषणापत्रका विषयवस्तु स्वीकार गर्ने पक्षमा जनता कदापि छैनन् ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

घोषणापत्रजस्तो बनाए पनि के गर्नु कार्यान्यन नै हुँदैन भने । घोषणापत्रमा चिल्ला कुरा राखेर जनतालाई भ्रम छर्न जानेका छन्, नेताहरूले । जनतालाई महत्त्वाकांक्षी घोषणापत्र देखाई झुक्काएको यो पहिलो पटक होइन । पटकपटक झुक्काएका छन् । दलहरूले अहिलेसम्म बनाएका घोषणा कुनचाहिँ कार्यान्वयन भएको छ ? जनतालाई भ्र्रमजालमा पारेर स्वार्थपूर्ति गर्न पल्केका नेताहरूलाई जबसम्म जनताले स्वविवेक प्रयोग गरेर सबक सिकाउन सक्दैनन् तबसम्म यस्ता प्रवृत्ति हावी भइरहन्छ । लोकतान्त्रिक गणतन्त्र आफैंमा खराब होइन, यसलाई चलाउने चालक खराब भए । यसका कारण देशको आर्थिक उन्नति हुन सकेन । निर्वाचनको बेला जनता चाहिने, अघिपछि मतलबै नगर्नेहरूबाट जनताले के आस राख्ने ? कुनै पार्टी खराब छैनन् । पार्टी चलाउने नेता खराब छन् । त्यसकारण यो निर्वाचनमा सही नेता छान्नुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

सम्पादकलाई चिठी

योग्यतालाई पन्छाएर राजदूत

‘राजदूत नियुक्तिमा सधैं नातागोता’ समाचार पढ्दा टिप्पणी गर्नैपर्ने भयो । राजदूतजस्तो जिम्मेवार पदमा नियुक्त गर्दा योग्यतालाई चटक्कै पन्छाएर आसेपासेलाई मात्र स्थान दिने परम्परा बसिसक्यो । झन्डै दुईतिहाइ बहुमत प्राप्त ओली सरकारले योग्य र सक्षम व्यक्ति राजदूत नियुक्त गरी अन्तर्राष्ट्रिय छवि सुधार्ने सुनौलो अवसर पाएको थियो, जुन मौका गुम्यो । जस्तासुकैलाई मुलुकको प्रतिनिधि नियुक्त गरियो, फलस्वरूप कतिलाई फर्काउनुपर्‍यो । यसबाट योग्य राजदूतको इज्जत, प्रतिष्ठा पनि धमिलो भएको छ । देउवा सरकारको पनि हालत उति फरक छैन । उदाहरणका लागि विदेशमा बसेर श्रमिक आपूर्ति गर्ने शर्मिला पराजुली, योग्य र दक्ष नभए पनि नेताको प्रिय भएका आधारमा राजदूत भइन् । दानबहादुर तामाङ दल परिवर्तन गरेरै भए पनि राजदूत बने तर काम शून्य । यस्ता अरू पात्रका बारे पनि समाचारले उजागर गरेको छ ।
एकातिर योग्यता नै नपुगेकालाई नियम, प्रावधान संशोधन गरेरै भए पनि नियुक्त गर्ने अर्कातिर एउटा देशमा विवादित बनेकालाई अर्को देशमा पठाउँदा नेपालको छवि कस्तो होला ? राजदूत मुलुकको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण र गरिमामय पद हो, राजनीतिक नियुक्ति गर्न पाइने र आफ्नै नातागोता वा चिनेजानेका भए पनि कम्तीमा तोकिएको शैक्षिक योग्यता, दक्षता, कूटनीतिक क्षेत्रका अनुभव भएका अब्बल व्यक्तिलाई छनोट गर्नुपर्छ । राजदूतको वैचारिक नीति जस्तासुकै भए पनि परराष्ट्र नीति र समग्र देशको हितलाई केन्द्रमा राखी काम गर्न सक्षम राजदूत भए मात्र उसको प्रतिष्ठा र सम्मान रहन्छ, अनि मात्र देशको सम्मान र इज्जत रहन्छ । यसको फलस्वरूप देशलाई नै फाइदा हुन्छ । त्यसकारण राजदूत नियुक्त भएर जाने व्यक्ति हाम्रो भए पनि राम्रोचाहिँ हुनैपर्छ ।
– गंगाराज अर्याल, पाली, अर्घाखाँची

Page 7
दृष्टिकोण

समावेशिताको कसीमा स्थानीय तह

नेपालको स्थानीय तहमा महिलाको प्रतिनिधित्व जापान, स्विटजरल्यान्ड, नर्वे, डेनमार्क, अस्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, न्युजिल्यान्ड, फिनल्यान्ड लगायतको भन्दा पनि राम्रो छ ।
- खिमलाल देवकोटा

संविधानको प्रस्तावनामा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प छ । संविधानको धारा ३८(४) मा महिलाको समानुपातिक सहभागिता तथा धारा ४२ मा महिलासहित पछाडि परेका व्यक्ति तथा समुदायलाई राज्यका सबै संरचनामा समान सहभागिताको अधिकार हुने व्यवस्था छ । संविधानको सुन्दर पक्ष समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको व्यवस्था हो । संविधानले राज्यको हरेक निकायमा कम्तीमा एकतिहाइ महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । समानुपातिक समावेशी प्रतिनिधित्वको महत्त्वपूर्ण पाटो स्थानीय तहमा महिला सहभागिताका सम्बन्धमा यो आलेख केन्द्रित रहनेछ ।
कार्यजिम्मेवारी, वित्तीय स्रोत र साधन लगायतका माध्यमबाट संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न मात्र बनाएको छैन, महिलाहरूको प्रतिनिधित्वको सवालमा सम्पन्न पनि तुल्याएको छ । संविधानले प्रत्येक वडाबाट एक महिला र एक दलित महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा १७ अनुसार राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये कम्तीमा एक महिला समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । तर राजनीतिक दलले एउटामा मात्र उम्मेदवारी दिएमा यो प्रावधान लागू नहुने व्यवस्था यसै कानुनमा छ । २०७९ सालको स्थानीय तह चुनाव ठूला राजनीतिक दलहरू मिलेर लडे । त्यसैले प्रमुख पदाधिकारी पदमा राजनीतिक दलबीच भागबन्डाका कारण महिलाको समग्र प्रतिनिधित्व बढे पनि प्रमुख पदाधिकारीमा भने घटेको छ ।
स्थानीय तहमा कुल निर्वाचित पदाधिकारीमध्ये ४१ प्रतिशत महिला छन् । लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष निर्वाचनपछि जनप्रतिनिधिहरूले जनतासँग गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्छन् । निर्वाचनले संविधान कार्यान्वयनको गतिशीलतालाई मलजल गर्छ । स्थानीय तहका पछिल्ला दुइटा निर्वाचनका कारण संविधानको सबलीकरणमा टेवा पुगेको छ ।
स्थानीय तहमा महिला प्रतिनिधित्वको ऐतिहासिक पक्ष हेर्दा, २००७ सालको परिवर्तनपश्चात् निर्वाचनमा महिलाहरूको मताधिकार र उम्मेदवार बन्न पाउनुपर्ने मागसहित महिला नेत्री साहना प्रधान लगायतले जुलुस निकालेका थिए । यसैको फलस्वरूप महिलाहरूलाई मताधिकार र उम्मेदवार दुवैको व्यवस्थासहितको कानुनी संरचना बन्यो । २०१० सालमा भएको काठमाडौं नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले मताधिकार प्राप्त गर्नुका साथै उम्मेदवारीसमेत दिए । पहिलो महिला जनप्रतिनिधिका रूपमा साधनादेवी चुनिइन् । नेपालको निर्वाचनको इतिहासमा यसलाई कोसेढुंगाका रूपमा समेत लिइन्छ । संसदीय फाँटको कुरा गर्दा, २०१५ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा द्वारिकादेवी ठकुरानीले निर्वाचित भएर स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री भई नेपालको इतिहासमा पहिलो महिला मन्त्री बन्ने अवसर प्राप्त गरेकी थिइन् ।
२०४६ सालको परिवर्तनपछि २०४९ जेठ १५ र १८ मा गाउँ विकास समिति (गाविस) र नगरपालिका (नपा) को चुनाव भएको थियो । त्यस बेला ३,९९३ गाविस र ३६ नगरपालिका थिए । वडाहरू नगरपालिकामा ५२१ र गाविसमा ३५,८८३ वटा थिए । तर दुर्भाग्य, नपामा एक जना पनि मेयर, उपमेयर र वडाध्यक्षका रूपमा महिलाले अवसर पाएनन् । गाविसका सन्दर्भमा चाहिँ, ७ अध्यक्ष, १५ उपाध्यक्ष र १९० वडाध्यक्षमा महिलाले विजय हासिल गरेका थिए । देशभर ४४,४६२ जना निर्वाचित हुँदा महिलाको संख्या जम्मा २१२ थियो । समग्रतामा स्थानीय निकायमा महिलाको प्रतिनिधित्व ०.४८ प्रतिशत थियो ।
२०५४ जेठ ४ र १३ मा दोस्रो पटक स्थानीय निकायको निर्वाचन भएको थियो । निर्वाचनमा गाविसको संख्या ३,९१७ र नपाको संख्या ५८ थियो । यस चुनावमा नपाका कुल ८०३ वडामध्ये ३ वटामा वडाध्यक्षका रूपमा मात्र महिला निर्वाचित भएका थिए । गाविसमा २० अध्यक्ष र १७ उपाध्यक्ष चुनिएका भए । यस निर्वाचनमा गाविस र नपाको निर्वाचनमा प्रत्येक गाविस र नपाका वडाबाट निर्वाचित हुने सदस्यमध्ये कम्तीमा एक महिला हुनुपर्ने कानुनी व्यवस्था थियो । यही व्यवस्थाका कारण कुल निर्वाचित ४ लाख जनप्रतिनिधिमध्ये महिलाको संख्या ४० हजार थियो । नेपालको निर्वाचन इतिहासमा यो ऐतिहासिक क्षण थियो । समग्रतामा स्थानीय निकायमा महिलाको उपस्थिति ९.८५ प्रतिशत थियो ।
२०५४ सालमा निर्वाचन भएपश्चात् स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने गरी २०५५ मा स्थानीय स्वायत्त शासन ऐन ल्याइयो । तर निर्वाचित जनप्रतिनिधिले यस ऐनको प्रयोग जम्मा चार वर्ष मात्रै गर्न पाए । २०५९ असारमा जनप्रतिनिधिको समय समाप्त भयो । तर त्यसपछि माओवादी द्वन्द्व लगायतका कारण चुनावै हुन सकेन । स्थानीय निकायहरू २०५९ साउनदेखि जनप्रतिनिधिविहीन बने । राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ माघमा नगरपालिकाको निर्वाचन भयो तर त्यसले वैधता पाउन सकेन । २०६२–६३ सालको जनआन्दोलनपश्चात् गठित सरकारले यसलाई खारेज गर्‍यो । २०७२ सालको संविधानपश्चात् स्थानीय निकायलाई स्थानीय तहका रूपमा परिभाषित गरी अझ अधिकारसम्पन्न बनाइयो ।
मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेपश्चात् २०७४ सालमा ७५३ वटा स्थानीय तह (गाउँ/नगर पालिका) को निर्वाचन तीन चरणमा भएको थियोÙ वैशाख ३१, असार १४ र असोज २ मा । तर, २०७९ सालको चुनाव एकै पटक वैशाख ३० मा भयो । २०७४ सालमा राजनीतिक वातावरण त्यति सहज थिएन । मधेशवादी दलसहित केही वर्ग र समुदायले संविधानको अपनत्व लिइरहेका थिएनन् । मुलुकका केही ठाउँमा द्वन्द्वका छिटाहरू आलै थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीले त वैशाख ३१ र असार १४ को स्थानीय तहको चुनाव बहिष्कारसमेत गरेको थियो । तराई मधेशमा स्थानीय तहको संख्या बढाइएपछि मात्र यो पार्टी तेस्रो चरणको चुनावमा सहभागी भएको थियो ।
२०७४ सालको चुनावमा वडासदस्य, वडाध्यक्ष, नगरपालिकाका मेयर–उपमेयर र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष गरी कुल ३५,०४१ जना निर्वाचित भएका थिए । निर्वाचितमा महिलाको संख्या १४,३५२ थियो, जुन कुल निर्वाचितको ४०.९६ प्रतिशत हो । २०७९ सालको निर्वाचनमा ३५,०९७ जना निर्वाचित भएकामा १४,४६६ जना महिला छन्, जुन कुल निर्वाचितको ४१.२२ प्रतिशत हो । २०७४ सालका तुलनामा २०७९ सालमा महिलाको प्रतिनिधित्व बढ्नुलाई समग्रतामा सराहनीय मान्नुपर्छ । तर सवाल प्रमुख पदाधिकारी पद (नगरपालिकाका मेयर–उपमेयर र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष) मा बढोत्तरी भयो कि भएन, त्यो महत्त्वपूर्ण हो । यसै गरी प्रमुख पदाधिकारी पदमा पनि नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षको पदमा सुधार भयो कि भएन, यो पनि अहं प्रश्न हो । तर तथ्य हेर्दा, मेयर र अध्यक्ष पदमा महिलाको संख्या झिनो संख्याले वृद्धि भए पनि कुल पदाधिकारी पदमा भने घटेको देखिन्छ ।
२०७४ सालको निर्वाचनमा २९३ नगरपालिकामध्ये ७ वटाका मेयरमा महिला निर्वाचित भएका थिए भने २०७९ सालमा १३ वटामा महिला मेयर आएका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । मेयर र उपमेयरको समग्रतामा कुरा गर्ने हो भने २०७४ सालका तुलनामा २०७९ सालमा महिलाको प्रतिनिधित्व घटेको छ । २०७४ सालमा मेयर र उपमेयरमध्ये महिलाको संख्या २८३ (४८ प्रतिशत) थियो भने २०७९ सालमा यो संख्या घटेर २४६ (४२ प्रतिशत) झरेको छ । ठूला राजनीतिक दलको चुनावी समीकरण लगायतका कारण मेयरमा महिलाको संख्या घटेको अनुमान गर्न सकिन्छ । यस्तै स्थिति गाउँपालिकाको पनि छ । २०७४ सालमा महिलाको प्रतिनिधित्व ४७ प्रतिशत थियो भने २०७९ सालमा ३८ प्रतिशत मात्र छ ।
स्थानीय तहका कुल १,५०६ पदाधिकारी पद (अध्यक्ष–उपाध्यक्ष र मेयर–उपमेयर) लाई आधार मान्ने हो भने, २०७४ सालमा महिलाको प्रतिनिधित्व ४७.६८ प्रतिशत रहेकामा २०७९ सालमा घटेर ३९.३८ प्रतिशत भएको छ । यस पक्षलाई गम्भीरतापूर्वक लिनुपर्छ । महिलाको प्रतिनिधित्व बढाउन राजनीतिक दबाब जरुरी त छँदै छ, योभन्दा पनि महत्त्वपूर्ण कानुनी सुधार नै आवश्यक छ । एउटै दलले उम्मेदवारी दिँदा महिला अनिवार्य भएजस्तै गठबन्धनमा पनि महिलालाई छुटाउनै नहुने कानुनी व्यवस्था मिलाउन जरुरी छ । यसै गरी, राजनीतिक दलहरूले उपमेयर वा उपाध्यक्ष पदमा मात्र महिलालाई अगाडि सार्ने तर मेयर र अध्यक्ष पदमा वास्ता नगर्ने सोच पनि त्याग्नुपर्छ ।
संविधान जारी भएपछि तराई मधेशका केही स्थानमा यसलाई जलाउने काम पनि भयो, जसको नेतृत्व मधेशवादी दलहरूले गरेका थिए । तिनले यसलाई ‘कालो संविधान’ पनि भने । तर यही संविधानका कारण स्थानीय तहमा प्रमुख पदाधिकारी लगायतका पदमा महिलाहरूको उपस्थिति दह्रो हुन सकेको वास्तविकतालाई भुल्न हुन्न । मधेश प्रदेशकै कुरा गर्ने हो भने, २०७४ सालको स्थानीय तह चुनावमा बाराको करैयामाई गाउँपालिकामा निर्वाचित कुल ४२ जनामा २१ महिला थिए । २०७९ सालमै पनि महोत्तरीको पिपरा गाउँपालिका र सर्लाहीको चन्द्रपुर गाउँपालिकामा निर्वाचित कुल ३७ जनामा १८ महिला छन् । मधेश लगायतका प्रदेशमा महिलाहरूले ठूलो अवसर पाएका छन् । हिजो हेपिएका र दबिएकाहरू अहिले अधिकार दिने ठाउँमा पुगेका छन् ।
२०४९ र २०५४ साललाई आधार मान्ने हो भने स्थानीय तहमा महिलाको प्रतिनिधित्वमा निश्चित रुपमा ठूलो परिवर्तन आएको छ (हेर्नुस्, तालिका) । यो अकल्पनीय नै छलाङ हो ।
नेपालको स्थानीय तहमा महिलाको उपस्थिति कति सबल र उत्साहजनक छ भन्ने थाहा पाउन विकसित मुलुकहरूका उदाहरण हेर्दा हुन्छ । यूएन विमेनको सन् २०२१ को एउटा प्रतिवेदन अनुसार त्यस मामिलामा नेपालको स्थान १६ औं स्थानमा छ । १३३ राष्ट्रको विवरण समावेश गरिएको उक्त प्रतिवेदनमा नेपालको स्थानीय तहमा महिलाको प्रतिनिधित्व जापान, स्विटजरल्यान्ड, नर्वे, डेनमार्क, अस्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, न्युजिल्यान्ड, फिनल्यान्ड लगायतको भन्दा पनि राम्रो रहेको उल्लेख छ । स्थानीय तहमा महिलाको उपस्थिति जापानमा १३.३३ प्रतिशत र क्यानडामा २६.६० प्रतिशत मात्र छ ।
एकात्मक शासन व्यवस्थामा माओवादी द्वन्द्व लगायतका कारण करिब दुई दशकसम्म स्थानीय तहको निर्वाचन हुन सकेन । मुलुक संघीयतामा प्रवेश गरेपश्चात् स्थानीय तह अधिकारसम्पन्न भयो भने निर्वाचनमार्फत महिलाहरूको उत्साहजनक उपस्थिति सम्भव हुन सक्यो । आगामी दिनमा मेयर र अध्यक्ष पदमा समेत महिलाहरूलाई प्राथमिकता दिई उनीहरूको उपस्थितिलाई थप फलदायी बनाउनु जरुरी त छँदै छ, संघीय शासन प्रणालीको सुदृढीकरणमा लाग्न पनि त्यत्तिकै आवश्यक छ ।

दृष्टिकोण

कक्षाकोठामा अभिभावक

- पविता मुडभरी पुडासैनी

गोरखाको मणिकामादेवी माविले केही अघिदेखि अभिभावकलाई कक्षाकोठामा बसेर शिक्षण सिकाइ क्रियाकलापको अवलोकन गर्ने अवसर जुराएको खबर बाहिरियो । छोराछोरीले कसरी सिक्छन् तथा पढ्छन् भन्ने खुल्दुली प्रत्येक अभिभावकमा हुनु स्वाभाविक हो । विद्यालय तहको शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा अन्य विद्यालयले पनि यसको सिको गर्न सक्छन् ।
अधिकांश निजी विद्यालयले योग्य तथा दक्ष शिक्षकको व्यवस्थापन गर्न र विद्यार्थीलाई अनुशासित बनाउन नसक्दा अभिभावकलाई कक्षाकोठा प्रवेश गराउन हच्कन्छन् । त्यसो त विद्यालयमा प्रभावकारी र नियमित पठनपाठन भए नभएको निरीक्षण गर्नका लागि विद्यालय निरीक्षकको व्यवस्था हुने गर्छ । तर तिनको कार्य नियमित र प्रभावकारी नहुँदा कक्षाकोठाको अवलोकनमा अभिभावकको चासो बढ्नु स्वाभाविकै हो । सचेत अभिभावकले छोराछोरीको पठनपाठनबारे प्रधानाध्यापकलाई भेटेर जानकारी लिइरहेको र आवश्यक सुझाव दिइरहेको पनि भेटिन्छ । तर कक्षामै अभिभावक राखेर पढाउँदा विद्यालयको कमीकमजोरी तथा वास्तविक शैक्षिक गुणस्तर अभिभावकले थाहा पाउने र भविष्यमा विद्यार्थी टिकाउन र पाउन मुस्किल पर्ने डर सबैजसो विद्यालयलाई छ ।
गत एसईई परीक्षामा उच्च जीपीए ल्याउने विद्यार्थी संख्या अत्यन्त न्यून रहेबाट कक्षाकोठाको शिक्षण सिकाइ कमजोर बन्दै गएको स्पष्ट हुन्छ । नियमित तथा प्रभावकारी पठनपाठन नहुने बहुसंख्यक विद्यालयले वास्तविक शैक्षिक गुणस्तर लुकाएर अभिभावकलाई झुक्काइरहेका हुन्छन् । परीक्षामा अनुत्तीर्ण भएका बालबालिकालाई पनि राम्रो नतिजा ल्याएको प्रमाणपत्र देखाउँदै ठगिरहेका हुन्छन् । निजी विद्यालयको शिक्षा सेवा नभई व्यापार भएकाले तिनले आफ्ना विद्यालयको आन्तरिक अवस्था शिक्षकहरूलाई समेत खुलाउन चाहँदैनन् । त्यसैले पनि अभिभावक कक्षामा उपस्थित हुनुपर्छ ।
कक्षाकोठामा विद्यार्थीसँगै अभिभावक पनि हुँदा शिक्षक र विद्यार्थी दुवैको ध्यान शिक्षण र सिकाइमा बढ्न सक्छ । आफ्ना छोराछोरीले पढ्न मन नगरेको हो वा शिक्षकले अल्छी गरेका हुन् भन्ने पनि अभिभावकले प्रत्यक्ष बुझ्न पाउँछन् । अझ बालबालिकाले गृहकार्य गरे–नगरेको वा बुझाए–नबुझाएको पनि अभिभावकले प्रस्ट देख्न पाउँछन् । कक्षामा शिक्षक विद्यार्थीका क्रियाकलाप नियालेर अधिकांश सचेत सक्षम अभिभावकले त तिनलाई सुझाव–सल्लाहसमेत दिन सक्छन् । आफूले पनि केही सिकेर जान्छन् ।
नर्सरी कक्षादेखि कक्षा १२ सम्मका हरेक अभिभावकले कक्षाकोठाको निरीक्षण गर्नु जरुरी छ । कक्षा कस्तो छ, विद्यार्थी कसरी बसेका छन्, किताव–कपी कति बोक्छन्, विद्यार्थीको ध्यान कतातिर छ, शिक्षकले कस्तो पढाउँछन् आदिको प्रत्यक्ष अवलोकन अभिभावले गर्न पाउँछन् र प्रध्यानाध्यापकलाई समेत सुधारका उपाय सुझाउन सक्छन् । यसको सकारात्मक प्रभाव विद्यार्थीको सिकाइमा पर्न जान्छ । विद्यार्थीले पढ्न अल्छी गर्ने वा गृहकार्य नगर्ने परिपाटी पनि घट्दै जान्छ । शिक्षकले पूर्वतयारी गरी पढाउन आउने र विद्यार्थीले पनि गृहकार्य गर्न ध्यान दिने परिपाटी बस्दै जान्छ ।
लाखौं बालबालिकालाई आजको दिनमा पनि परम्परागत शिक्षण सिकाइ प्रक्रिया अपनाएर कमजोर बनाइँदै छ । विज्ञान, प्रविधि र विकासको गतिलाई सहज रूपमा अघि बढाउने जनशक्ति तयार पार्न विद्यालयहरू अझै सक्षम छैनन् । विज्ञान प्रविधिको यो विश्वव्यापी युगमा पनि शिक्षित जनशक्ति नै बेरोजगार बस्नुपर्ने कस्तो शिक्षा प्रणाली अवलम्बन गरिरहेका छौं हामीले ? शिक्षाका नीति कार्यक्रम कमजोर भएपछि अनुसन्धान, आविष्कार र उत्पादनमूलक शिक्षा असम्भव हुन पुग्छ । सिकाइलाई शिक्षाको उद्देश्यसँग जोड्दै उत्पादन, सृजना र सीप विकास गर्नु आजको आवश्यकता हो । ‘गुणस्तरीय शिक्षा दिएका छौं’ भनेर कुर्लने निजी शैक्षिक संस्थाहरूले युवा जनशक्ति बिदेसिने शिक्षा होइन ‘स्वदेशमै केही गरौं’ भन्ने बनाउन खोज, अनुसन्धान र उत्पादनमुखी शिक्षामा जोड दिनुपर्छ ।
हाल गुणस्तरीय शिक्षाका लागि अनेक माध्यम सहजै उपलब्ध छ । इन्टरनेटमार्फत विभिन्न ज्ञान–सीप हासिल गर्ने, गराउने अवसर शिक्षक र विद्यार्थी दुवैलाई छ । प्रधानाध्यापकले एक ठाउँमा बसेर सीसीटीभीमार्फत कक्षाका क्रियाकलाप नियाल्न मिल्छ । शिक्षकको भरमा मात्र विद्यार्थीले सिकाइ आर्जन गर्नुपर्ने अवस्था रहेन अब । शिक्षकले सहजै विश्वजगत्ले अपनाएको आधुनिक शिक्षण सिकाइ प्रणाली अपनाउन सक्ने अवस्था छ । विद्यार्थीले पाठ्यपुस्तकको नबुझेका विषय इन्टरनेटमा हेरेर सिक्ने अवसर यथेष्ट हुँदाहुँदै पनि शैक्षिक गुणस्तर किन खस्किरहेको छ ? सरोकारवालाका लागि गम्भीर प्रश्न हो यो ।
अहिले राजनीतिक दलहरूले घोषणापत्रमार्फत गुणस्तरीय र निःशुल्क शिक्षा, सीप, सृजना र आयमूलक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । विगतका घोषणापत्रमा उठाइएका शिक्षा सम्बन्धीका मुद्दाहरू अझै कार्यान्वयन नभएको सन्दर्भमा नयाँ आश्वासन कसरी लागू हुन्छ हेर्न बाँकी छ । अस्तव्यस्त बनिरहेको विश्वविद्यालय शिक्षामा सुधार गर्ने विषयमा दलहरूको रत्तिभर चासो देखिँदैन । उच्च शिक्षा अध्यननका नाममा बिदेसिने नेपाली युवाको लर्कोले केही वर्षमै हाम्रा विश्वविद्यालय रित्तिने डरलाग्दो अवस्था सृजना भइसकेको छ । व्यापारीको चंगुलमा फसेको शिक्षाबाट आमूल परिवर्तनको अपेक्षा गर्न सकिँदैन । सार्वजनिक शिक्षा सुधार्ने सरकारको नीति तथा कार्यक्रम असफल भएकै कारण अभिभावक आफैं कक्षाकोठामा पसेर शिक्षण क्रियाकलाप नियाल्नुपर्छ ।
स्थानीय सरकारको ध्यान विद्यालय शिक्षा सुधारका उपाय अवलम्बनतिर छैन । सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम केही विद्यालयमा लागू गरे पनि शिक्षालाई उत्पादनशीलतासँग जोड्ने नीति अवलम्बन गरेको छैन । शिक्षक उत्पादन गर्ने हाम्रो शिक्षा नीति, प्रणाली र प्रशासन नै परम्परागत प्रवृत्तिबाट माथि उठ्न नसकेकाले तिनका योग्यता र दक्षतामाथि नै प्रश्न उठ्ने अवस्था छ । राजनीतिक हस्तक्षेप र मनोमानीले शैक्षिक गतिविधि ध्वस्त हुँदै छ । गुणस्तरीय शिक्षाका लागि योग्य शिक्षक र योग्य शिक्षकका लागि योग्य शिक्षालय आवश्यक हुन्छ, र यस्तो नेपालमा भइरहेको छैन । त्यसैले पनि कक्षाकोठामा अभिभावक उपस्थित हुनुपर्ने वातावरण बनिरहेको छ ।

दृष्टिकोण

घोषणापत्रमा मात्र सीमित नहोस् रेल विकास

- आशिष गजुरेल

संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमदेखि राजनीतिक दलहरूका घोषणापत्रसम्म पढ्ने हो रेलबारेका योजना प्रायः छुटेको पाइँदैन । जुनसुकै पूर्वाधार बहसमा पनि रेल प्राथमिकतामै पर्छ । लामो समयदेखि राजनीतिक संक्रमणमा गुज्रेको नेपालमा यस्ता पूर्वाधारबारे बहस हुनु सकारात्मक कुरा हो जसले समृद्धिको चाहनाको संकेत गर्छ । नेपालको स्थल यातायातमा सबैभन्दा कम उपयोग भएको साधन भएकाले पनि रेलप्रति आम तहमै विशेष कुतूहल छ ।
नेपालमा पहिलोचोटि सन् १९२७ मा रक्सौलदेखि अमलेखगन्जसम्म करिब ३९ किमि रेल सेवा सञ्चालनमा आएको थियो । तर त्यो लामो समय टिक्न सकेन । झन्डै ९० वर्षपछि फेरि रेलको बहसले स्थान पाउन थालेको छ । भारत र चीनमा भएको रेल सेवाको द्रुत विकास देखेका नेपालीका लागि आफ्नो देशमै रेल चढ्ने रहर हुनु स्वाभाविकै हो ।
पछिल्लो समय जनकपुरदेखि भारतको जयनगरसम्म फेरि यात्रुवाहक रेल सेवा चल्दा नेपालीहरू धेरै खुसी हुनुलाई यही अर्थमा लिनुपर्छ ।
भनिन्छ, यातायात भनेको पूर्वाधारको पनि पूर्वाधार हो । कुनै पनि देशको समृद्धिको मापन गर्ने एउटा महत्त्वपूर्ण मापदण्ड यातायात क्षेत्र नै हो । स्तरीय हुन नसके पनि नेपालमा १ लाख किमि सडक सञ्जाल निर्माण भैसकेको छ । यातायातको आधारभूत आवश्यकता पूरा भए पनि सडक मात्रै समृद्ध नेपाल निर्माणका लागि पर्याप्त हुँदैन । यसका लागि अर्को सशक्त माध्यम हो— रेल सेवा । बेलायतको औद्योगिकीकरणलाई रेलको विकासले ठूलो मद्दत गरेको थियो । भारत र चीनमा संसारकै ठूला रेल सञ्जाल छन्, जसले गर्दा पनि ती देशले विकासमा छिटो फड्को मार्न सकेका हुन् । रेलबाट बन्दोबस्तीको लागत अर्थात् ‘लजिस्टिक्स कस्ट’ झन्डै ३० प्रतिशतसम्म घट्ने
विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा पनि विकासको मूल वाहकका रूपमा रेल सेवालाई विकास गर्न सकिने सम्भावना प्रशस्त छन् ।
रेल सेवा विकास गर्ने योजनास्वरूप सन् २००९ मा सरकारले पूर्वपश्चिम (९४५ किमि) सम्भाव्यता अध्ययन गरेको थियो र सन् २०१४ देखि यसका विभिन्न्न खण्डमा निर्माण सुरु भैसकेको छ । अहिले पूर्वपश्चिम रेलमार्गको बर्दिबासदेखि लालबन्दीसम्मको खण्ड सबैभन्दा अगाडि बढेको छ । यसै गरी, रेल सेवाको विकासका लागि महत्त्वपूर्ण पाइलाका रूपमा सन् २०११ मा रेल विभाग स्थापना भयो । सन् २०१७ मा चीनले अगाडि सारेको ‘रोड एन्ड बेल्ट इनिसियटिभ’ मा हस्ताक्षर गरेर नेपाललाई आफूलाई अन्तर्राष्ट्रिय रेल सञ्जालमा आबद्ध गर्न मार्गप्रशस्त गरेको छ ।
रेल मार्ग बन्नु मात्र सकारात्मक कुरा भने होइन, रेल सेवाले आर्थिक विकासका गतिविधिहरू (जस्तै— व्यापार तथा उद्योगधन्दाको विकास एवं अन्य पूर्वाधार निर्माण) मा पनि सहयोग पुर्‍याउनुपर्छ ।
यसका लागि अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि नेपालले विश्वमा उदीयमान ठूला अर्थतन्त्रका रूपमा रहेका चीन र भारतसँग रेल सेवा जोड्ने कार्यलाई प्राथमिकता दिनुपर्छ । निर्माणाधीन पूर्वपश्चिम रेल सेवालाई काठमाडौंसँग जोड्न सकिएमा यात्रु र मालसामानको महत्त्वपूर्ण गन्तव्य र उद्गमस्थल राजधानीमा थप आर्थिक चहलपहल बढ्नेछ, र यसको प्रभाव अन्य क्षेत्रमा पनि देखिनेछ । त्यसमाथि पनि काठमाडौंलाई अहिले योजनामा रहेको केरुङ–काठमाडौं–रक्सौल रेल लाइन एवं पूर्वपश्चिम रेलमार्गसँग आबद्ध गर्न सकिएमा नेपालको यातायात क्षेत्रमा मात्र होइन, समग्र विकासमा निकै ठूलो योगदान पुग्ने निश्चित छ । यसका लागि अनुकूल वातावरण पनि क्रमिक रूपमा बन्दै छ । चीनले सिगात्सेबाट केरुङसम्मको ५४० किमि रेल सेवा सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने योजना छ । केरुङबाट रसुवागढी केवल २४ किमि दूरीमा छ । रसुवागढीबाट काठमाडौं १५० किमि टाढा छ भने काठमाडौंबाट रक्सौल १४० किमिको दूरीमा छ । अन्तरदेशीय सीमाका हिसाबले यो दूरी लामो होइन । रेल आबद्धताबाटै नेपालले एसियाका यी दुई अर्थतन्त्रको बृहत् बजारको उपयोग गर्न सक्छ । त्यसका लागि आफ्ना उत्पादनमा बढोत्तरी गरी आपूर्ति क्षमता बढाउनुपर्छ ।
कसरी विकास गर्ने रेल सेवा ?
अहिलेको समय भनेको सहायताको नभई व्यापारको हो । तुलनात्मक रूपले जोखिम बढी हुने र मुनाफा कम हुने पूर्वाधार क्षेत्रमा निजी क्षेत्र त्यति आकर्षित देखिँदैन । त्यसैले पूर्वाधार निर्माणमा सरकारले आफ्नै स्रोतको परिचालन गर्नुपर्ने देखिन्छ । दाता राष्ट्रहरू पनि केवल अनुदान सहायता दिनेभन्दा ऋण सहायता दिनेतर्फ बढी अग्रसर देखिन्छ । त्यसैले विदेशी दातृ राष्ट्र वा संस्थाहरूबाट सहुलियतपूर्ण ऋण लिई रेल सेवाका लागि स्रोतको जोहो गर्नु उपयुक्त देखिन्छ । अध्ययनले देखाए अनुसार पूर्वपश्चिम रेलमार्गमा दोहोरो ट्र्याक निर्माण गर्न औसत प्रतिकिमि १ अर्ब रुपैयाँ लाग्ने देखिन्छ भने पहाडी भूभागमा त्योभन्दा निकै बढी लाग्नेछ । आजको मितिबाट काम सुरु गर्दा पनि निर्माण सुरु गर्न नै सम्भाव्यता अध्ययन, विस्तृत परियोजना विवरण (डीपीआर), वातावरण अध्ययन प्रतिवेदन स्वीकृत र जग्गा व्यवस्थापन गर्न नै ३–४ वर्ष लाग्छ र निर्माणका लागि भूगोल र लम्बाइ हेरी अर्को कम्तीमा ५ देखि १० वर्ष लाग्छ । रेल परियोजना निकै खर्चिलो र जोखिम बढी हुने भएकाले लगानीकर्ताहरू हतपत आकर्षित हुँदैनन्, त्यसैले सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मा विकास गर्न सकिँदैन र यो नेपाल सरकारले आफ्नै स्रोत र साधनमै बनाउनुपर्ने हुन्छ वा पर्याप्त मात्रामा न्यून पुँजी परिपूर्ति कोषको व्यवस्था गरी पीपीपी परियोजना सम्भाव्य बनाउनुपर्छ ।

अबको बाटो
मुख्यतः अहिले नेपाललाई पूर्वपश्चिम रेल सेवा, केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग अत्यावश्यक देखिएको छ । चोभार सुक्खा बन्दगाह उद्घाटनका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले यस बन्दरगाहलाई रेलबाट जोड्न सके आर्थिक विकासलाई टेवा मिल्ने बताएका थिए । रणनीतिक रूपमा निकै महत्त्वपूर्ण रेलमार्गलाई विकास गर्न सकिएमा देशले आर्थिक रूपमा काँचुली फेर्ने मात्र होइन, कोल्टे नै फेर्नेछ । तर यसको कार्यान्वयनका लागि नयाँ ढंगबाट अगाडि बढ्नैपर्छ । कार्यान्वयन गर्न लागिएको हरेक रेलमार्गको छुट्टै परियोजना कार्यालय स्थापना गरी त्यसका लागि प्रत्यक्ष निर्देशन र अनुगमन मन्त्रीबाटै हुने र छिटछिटो आवधिक रूपमा प्रगति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गर्नुपर्छ ।
दक्ष जनशक्ति अभावलाई पूर्ति गर्न विदेशमा रहेका नेपाली विज्ञहरूलाई आकर्षित गर्ने, त्यसले नपुगेमा अन्तर्राष्ट्रिय परामर्शदाता, विज्ञ, प्राविधिक लगायतको सहयोग लिएर काम अगाडि बढाउन ढिलाइ गर्नु हुँदैन । यस्तै प्रयास यूएई, भारत लगायतले गरेका थिए । दुबईमा रेल सेवाको विकास गर्दा जनशक्ति अमेरिका, जापान र अस्ट्रेलियाबाट ल्याइएका थिए । दिल्ली मेट्रोको विकासका लागि जापानको सहयोग थियो । परियोजना ढिलाइको प्रमुख कारक बनेको हालको सार्वजनिक खरिद प्रक्रियालाई छोटो र सरलीकृत गर्न उत्तिकै जरुरी छ । दिल्ली मेट्रोमा जस्तो छुट्टै ऐनमार्फत काम अगाडि बढाउनुपर्ने भए पनि ढिलाइ गर्नु हुँदैन । परियोजना विकासको सयमसीमा तोकी कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने, परम्परागत कर्मचारीतन्त्रभन्दा पनि करारमा नियुक्त व्यावसायिक जनशक्तिलाई परिचालन गर्ने, कार्यसम्पादनका आधारमा त्यस्ता जनशक्तिको करार अवधि बढाउँदै जाने व्यवस्थाका साथै परियोजनाका लागि आवश्यक वित्तीय स्रोतको समयमै व्यवस्थापन गर्न सकिएमा कार्यान्वयन शीघ्र अगाडि बढ्न सक्छ । नत्र नेपालमा रेल सपना केवल घोषणापत्र र भाषणमै सीमित रहिरहनेछ ।

गजुरेल यातयातविज्ञ हुन् ।

Page 8
विदेश

सुनकसामु चुनौतीका चाङ

आयव्ययबीच सन्तुलन मिलाई अर्थतन्त्र सुदृढ पार्ने र पछिल्लो समय राजनीतिक रुपमा विभाजित कन्जरभेटिभ दललाई एकीकृत बनाउने मुख्य चुनौती
- नवीन पोखरेल

(लन्डन)
करिब दुई साताअघि बेलायतको ५७ औं प्रधानमन्त्री नियुक्त भएलगत्तै ऋषि सुनकले विभिन्न कीर्तिमान कायम गरे । भारतीयमूलका उनी बेलायतमा दुई शताब्दीयता सबैभन्दा कम उमेर ४२ वर्षमा प्रधानमन्त्री भए । पहिलो अश्वेत, हिन्दु प्रधानमन्त्री एवं बेलायती राजाभन्दा पनि धनी जस्ता रेकर्ड उनको नाममा छन् ।
भारतीय धनाढ्य नारायण मूर्तिकी सुपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गाँसेका सुनक दम्पतीको सम्पत्ति करिब ७३० मिलियन पाउन्ड छ भने राजा चार्ल्स तृतीयको व्यक्तिगत सम्पत्ति करिब ३७० मिलियन पाउन्ड रहेको सन्डे टाइम्समा प्रकाशित धनीहरूको सूचीमा उल्लेख छ ।
करिब ७ वर्षअघि मे २०१५ मा रिचमन्ड (योर्क्स्) बाट कन्जरभेटिभ सांसद निर्वाचित सुनकले २०२० को फेब्रुअरी १३ देखि २०२२ को जुलाई ५ सम्म बेलायतको अर्थमन्त्रीका रूपमा काम गरे । उनी अर्थमन्त्री रहँदा बेलायत कोरोना भाइरसको महामारीको चपेटामा थियो । धेरै कम्पनी बन्द हुँदै थिए भने मानिसहरू बेरोजगार ।
त्यस्तो, विषम परिस्थितिमा उनकै अगुवाइमा ल्याइएका विभिन्न राहत कार्यक्रमले जनस्तरमा सुनकको लोकप्रियता ह्वात्तै बढ्यो । कोरोनाकालमा उनले ल्याएको ‘इट आउट हेल्प आउट’ र ‘फर्लो’ योजनाले उनलाई त्यतिबेलादेखि नै बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा हेरिएको थियो ।
सुनकले बेलायतको प्रधानमन्त्री बनेर जति रेकर्ड बनाएका छन्, उनका आगामी दिन त्यति सहज भने नभएको विश्लेषकहरू बताउँछन् । ‘अहिले हाम्रो देशले गहिरो आर्थिक संकट सामना गरिरहेको छ । आर्थिक स्थायित्व नै सरकारको पहिलो प्राथमिकता हुनेछ,’ आफ्नो कार्यालय अगाडि पहिलो सम्बोधनका क्रममा सुनकले भनेका थिए ।
४५ दिनमै प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्न बाध्य लिज ट्रस सरकारले गरेका गल्ती सच्याउने र बेलायती जनताका लागि रातदिन काम गर्ने उनको अठोट छ ।
प्रधानमन्त्रीका रूपमा लिज ट्रस र उनका अर्थमन्त्री क्वाजी क्वार्टेङले सार्वजनिक गरेको ४५ बिलियन पाउन्ड कर कटौती गर्ने अर्थ नीतिका कारण बेलायती मुद्रा स्टर्लिङ पाउन्डको अवमूल्यन भएको थियो भने अन्तर्राष्ट्रिय बजारमा अस्थिरता पैदा भएको थियो । बैंकहरूले ब्याजदर अनिश्चित भएपछि मोर्गेज रद्द गरिदिँदा हजारौं मानिस प्रभावित भए । इन्धन र ऊर्जा बिल एवं खाद्यान्नमा महँगी अकासिँदा आम नागरिकले आइरहेको विन्टरमा ठूलो दुःख झेल्नुपर्ने चिन्ता बढेको छ ।
सुनकले नेतृत्वका लागि भएका बहसमा पनि ट्रसको आर्थिक नीतिले देशलाई गम्भीर असर पार्ने बताएका थिए तर ट्रसले त्यसलाई ‘डर देखाउने नीति’ भन्दै हल्का रूपमा लिएकी थिइन् । राजनीतिक चुनौती पनि उनले सामना गर्नुपर्ने विश्लेषकहरू बताउँछन् । प्रमुख प्रतिपक्षी पार्टी लेबर, स्कटिस नेसनल पार्टी, लिबरल डेमोक्र्याट्स र ग्रिन पार्टीले सुनक जनताको म्यान्डेटबाट प्रधानमन्त्री नबनेकाले छिट्टो आमनिर्वाचन गर्नुपर्ने दबाब दिन थालिसकेका छन् ।
प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र रिचमर्न्ड (योर्क) स्थित कोलबर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्मा सुनकमाथि आर्थिक र 
दुवै राजनीतिक चुनौती रहेको स्विकार्छन् । तर, यो आर्थिक संकटका बेला आमनिर्वाचन सबै पार्टीका लागि उचित र व्यावहारिक नभएको शर्माको बुझाइ छ । ‘सन् २०१९ को आमनिर्वाचनका बेला कन्जरभेटिभ पार्टीको घोषणापत्रबमोजिम एकजुट भएर जनताका लागि काम गर्नुपर्ने भएकाले अहिले निर्वाचन घोषणा गर्नु नैतिक रूपमा पनि राम्रो होइन,’ शर्माले भने ।
रिचमन्डको कन्जरभेटिभ उपाध्यक्षसमेत रहेका शर्मा सन् २०१५ मा छनोट कमिटीमा समेत थिए, जसले सुनकलाई सांसद उम्मेदवार चयन गरेको थियो । केही साताअघि मात्र सुनकलाई भेटेका शर्माले भने, ‘आप्रवासीले मिहिनेत गरेर क्षमता वृद्धि गरी अगाडि बढ्न जरुरी छ र शिक्षामा जोड दिनुपर्छ भन्ने सुनकको सुझाव छ ।’
सुनकको नेपाली र गोर्खा समुदायसँग निकट सम्बन्ध रहेको बताउँछन् शर्मा । ‘युरोपको सबैभन्दा ठूलो क्याट्रिक ग्यारिजन यहीं छ, जुन ब्रिटिस गोर्खाको पहिलो तालिम लिने ठाउँ पनि हो । सुनक पहिला पनि गोर्खाहरूको पासिङ परेड र तालिम अवलोकनका लागि आइरहनुहुन्थ्यो,’ उनले भने, ‘उहाँको कार्यकालमा नेपाल र बेलायतबीचको आपसी सम्बन्ध अझ सुमधुर हुन्छ भन्ने मेरो विश्वास छ ।’
सुनकसँग निकट रहेका व्यवसायी रवीन्द्रजंग लामिछाने उनको कार्यकालमा आर्थिक स्थायित्व हुने आशा व्यक्त गर्छन् । ‘सुनकको दूरदृष्टि र क्षमता हामीले कोभिडका बेला पनि अनुभव गर्यौं,’ लामिछानेले भने, ‘उनले ब्रिटेनलाई उकास्न सक्छन् भन्ने आशा छ ।’
बेलायती नयाँ प्रधानमन्त्रीलाई सबैभन्दा मुख्य चुनौती बेलायत र विश्व अर्थतन्त्रमा आएको मन्दी र समस्या समाधान गर्दै आर्थिक वृद्धि गर्नु रहेको बुझाइ पूर्वकाउन्सिलर तथा संसदीय निर्वाचनमा लेबर उम्मेदवार डा. बच्चुकैलाश कैनीको छ । ‘यो समस्या केवल बेलायत सरकारको नीति र कार्यक्रमले मात्रै समाधान गर्न सकिने होइन । तसर्थ विश्वका अरू शक्तिशाली र दह्रो अर्थतन्त्र भएका मुलुकहरूसँग कसरी सहकार्य हुन्छ, त्यसमा पनि भर पर्छ,’ कैनीले कान्तिपुरसँग भने । बेलायतमा हालैका महिनामा मूल्यवृद्धिका कारण दैनिक जीवनमा परिरहेको आर्थिक समस्या समाधान गर्नु पनि उत्तिकै चुनौतीपूर्ण देख्छन् उनी । यसका लागि सबै राजनीतिक दलको विश्वासमा नयाँ कार्यक्रमका साथ काम गर्नुपर्ने उनको सुझाव छ ।
राजनीतिक रूपमा हाल विभाजित भइरहेको कन्जरभेटिभ दललाई एकीकृत बनाउनु पनि कम चुनौती पूर्ण छैन ।
यो काममा सबै सांसद र दलका कार्यकर्ताहरूको विश्वास जित्न अग्रगामी कार्यक्रम र नीति ल्याउनु जरुरत रहेको उनले बताए । अहिले खस्कँदो साख र गिर्दो विश्वासका कारण कन्जरभेटिभले आगामी आमनिर्वाचन जित्न निकै मुस्किल भएकाले यो पनि सुनकका लागि अर्को मुख्य चुनौती ठान्छन् कैनी ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकसमक्ष सरकारको आयव्ययबीच सन्तुलन मिलाउन र अर्थतन्त्रलाई वृद्धि गर्न ठूलै चुनौती भएको ठान्छन् । ‘उनको काम अहिलेको बेलायतमा त्यति सजिलो छैन । उनी सत्तारूढ कन्जरभेटिभ पार्टीको नेता पदमा निर्विरोध निर्वाचित हुनुको एउटा कारण त्यो पनि हो,’ सन् २०१० र ०१५ को ५ वर्ष समय बेलायतको परराष्ट्रमन्त्रीको मानवअधिकार सल्लाहकार भएर काम गरेका सुवेदीले भने ।
ब्रिटेनमा अहिले बजेट घाटा निकै ठूलो छ र आर्थिक वृद्धि न्यून छ । निवर्तमान प्रधानमन्त्री लिज ट्रसले अर्थतन्त्र वृद्धि गर्नका लागि विदेशी लगानी भित्र्याउन कर कटौती गर्न खोजेकी थिइन् । ‘उनको नीति उच्च आर्थिक वृद्धि प्राप्त गर्ने उद्देश्यले प्रेरित थियो । तर उनले घोषणा गरेको कर कटौती कसरी पूर्ति गर्ने भन्ने भरपर्दो योजना उनीसँग थिएन । यदि कर कटौती गरिएमा बजेटमा उत्पन्न हुने ठूलो खाडल सरकारले कसरी पुर्ला भन्नेबारे ठूलै आशंका उत्पन्न भयो,’ सुवेदी भन्छन् ।
‘प्रधानमन्त्री सुनकले कर कटौती गर्ने पूर्ववर्ती सरकारको निर्णयलाई उल्टाइदिएका छन् । कन्जरभेटिभ पार्टीले परम्परागत रूपमा न्यून कर तथा उच्च आर्थिक वृद्धिको नीति अपनाउँदै आएको हो, तर पूर्वप्रधानमन्त्री ट्रसले एकदमै चाँडो निकै ठूला घोषणाहरू गरिन्,’ प्राध्यापक सुवेदीले भने, ‘ऋषि सुनक आफैं पनि न्यून आय र उच्च आर्थिक वृद्धिमा विश्वास गर्छन् तर उनीसँग सीमित विकल्पहरू छन् । त्यसैले गर्दा बजेट घाटा कम गर्न उनले कर घटाउनुको सट्टा बढाउनुपर्ने पनि हुन सक्छ ।’
बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न बैंक अफ इंग्ल्यान्डले पुनः ब्याजदर बढाएको छ । बैंकको मौद्रिक नीति समितिले यसअघि २.२५ प्रतिशतमा रहेको आधारभूत ब्याजदर बढाउँदै ३ प्रतिशत पुर्‍याएको हो । यो सन् १९८९ यताकै उच्च हो ।  बैंक अफ इंग्ल्यान्डले बेलायत आर्थिक मन्दीमा प्रवेश गरिसकेको जानकारी दिएको छ । बेलायत यस शताब्दीकै सबैभन्दा लामो आर्थिक मन्दीमा प्रवेश गरिसकेको जनाउँदै बैंकले यो मन्दी सन् २०२४ मध्यसम्म रहन सक्ने उसको प्रक्षेपण छ ।
बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डमा अन्तर्राष्ट्रिय व्यापारका सहप्राध्यापक डा. बुद्धि पाठक सुनक प्रधानमन्त्री भएपछि बजारले सकारात्मक रूपमा लिनुचाहिँ उनको सुखद सुरुवात भएको बताउँछन् ।
‘सुनक आउनेबित्तिकै स्टक एक्सचेन्ज र पाउन्डको भाउ बढ्यो,’ पाठकले कान्तिपुरसँग भने, ‘अहिलेसम्म बेरोजगार दर नबढ्नु पनि उनका लागि सकारात्मक पक्ष हो । नोभेम्बरमा आउने उनको अटम स्टेटमेन्टले पनि धेरै कुरा प्रकाश पार्नेछ ।’
बेलायतले हाल उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ । देश आर्थिक मन्दीको बाटोमा अग्रसर रहेका कारण पनि सुनकमाथि चुनौतीको थुप्रो देख्छन् पाठक । उनको बुझाइमा सुनकको पहिलो दायित्व छिन्नभिन्न कन्जरभेटिभ पार्टीलाई एकीकृत गर्नुपर्नेछ, दोस्रो अर्थतन्त्र सबल बनाउनुपर्नेछ, तेस्रो सरकारले आम्दानी बढाएर सापटी लिने क्रम घटाउनुपर्नेछ, चौथो ब्रेक्जिटपछि बेलायतले अमेरिका, भारतजस्ता शक्तिराष्ट्रसँग गर्ने व्यापार सम्झौता र अन्तिम अन्तर्राष्ट्रिय सम्बन्ध एवं रुस–युक्रेन युद्धलाई कसरी लान्छन्, त्यसैमा सुनकको सफलता निर्भर छ ।

विदेश

तिरुपतिमा १० टन सुन, १६ हजार करोड नगद

नयाँदिल्ली (कास)– तिरुपति बालाजी मन्दिरले आफूसँग १० टनभन्दा बढी सुन र १६ हजार करोड रुपैयाँ रहेको जनाएको छ । भारतको सबैभन्दा धनी मन्दिरका रूपमा चिनिने मन्दिरले पहिलो पटक आइतबार आफ्नो कुल सम्पत्ति सार्वजनिक गरेको छ ।
मन्दिर व्यवस्थापनबाट जारी गरिएको श्वेतपत्रअनुसार भारु ५ हजार ३ सय करोड बराबरको १०.३ टन सुन मन्दिरसँग छ । त्यस्तै विभिन्न बैंकमा १५ हजार ९ सय ३८ करोड भारतीय रुपैयाँ बैंकको नाममा जम्मा छ । भारतका विभिन्न स्थानमा समेत गरेर मन्दिरसँग ७ हजार १ सय २३ एकड जमिन र विभिन्न ९ सय ६० वटा भौतिक पूर्वाधार छन् । मन्दिरसँग चाँदीसहित विभिन्न बहुमूल्य पत्थर, सिक्का र विभिन्न कम्पनीको सेयर छन् । मन्दिर व्यवस्थापकले सार्वजनिक गरेको विवरणअनुसार मन्दिरको कुल सम्पत्ति २ दशमलव २६ लाख मूल्य बराबरको छ । उक्त सम्पत्ति कतिपय देशहरूभन्दा पनि बढी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । नवभारत टाइम्सले प्रकाशित गरेको रिपोर्टमा मन्दिरको सम्पत्तिलाई ग्रिनल्यान्ड, फिजी, माल्दिभ्स, ताजिकिस्तान, दक्षिणी सुडान, नामिबिया, मंगोलिया, अफगानिस्तान, साइप्रसलगायत कैयौं देशको जीडीपीभन्दा बढी भएको बताइएको छ ।
दक्षिण भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको मन्दिरमा दर्शनार्थीहरूले धेरै दान दक्षिणा दिने गरेका छन् । भगवान् विष्णुको उक्त मन्दिरमा दैनिक करोडौं रुपैयाँको धनसम्पत्ति दान प्राप्त हुन्छ । भक्तजनले मुण्डन गराएर कपालसमेत मन्दिरमा चढाउने गर्छन् ।

विदेश

श्वेत चैत्य स्थापनाको ७५० औं वार्षिकोत्सव

- लक्ष्मी लम्साल
चीनको राजधानी बेइजिङमा रहेको अरनिकोको सालिकसँगै तस्बिर खिचाउँदै नेपाली । तस्बिर : कान्तिपुर

(बेइजिङ)
कलाकार अरनिकोद्वारा निर्मित श्वेत चैत्य स्थापनाको ७५० औं वार्षिकोत्सव बेइजिङमा साताव्यापी कार्यक्रम गरेर मनाइने भएको छ ।
बेइजिङस्थित नेपाली दूतावास, बेइजिङ नगरपालिका, सि छङ् जिल्ला, बेइजिङ नगरपालिका सांस्कृतिक सम्पदा ब्युरो, चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङ नगर कमिटीका प्रचार विभागका नेता, चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनलगायतका प्रतिनिधिको सहभागितामा उद्घाटन गरिएपछि एक सातासम्म विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
साप्ताहिक कार्यक्रमहरूमा नेपाल–चीन सांस्कृतिक आदानप्रदान सम्बन्धित गतिविधि समावेश गरिने नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले कान्तिपुरलाई बताए । कार्यक्रम अवधिमा श्वेत चैत्य परिसरमा कलाकृति प्रदर्शनी, नेपाली काष्ठकला, हस्तकलाका साथै पेन्टिङ देखाइने, स्थलगत प्रत्यक्ष चित्रकला कोरिने, गोष्ठी सम्मेलन गरिने पनि उनले जनाए । त्यस्तै, ललितपुरको पाटन संग्रहालय र श्वेत चैत्य व्यवस्थापन कार्यालय बेइजिङबीच समझदारी (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ । श्वेत चैत्य निर्माणका सिलसिलामा प्रयोग भएको कलाशिल्प तथा नेपाली कलाशैलीद्वारा मठमन्दिर निर्माणलगायतका डिजिटल भिडियो प्रदर्शनी गर्ने कार्यक्रम पनि राखिएको छ ।
श्वेत चैत्य स्थापनाको ७५० औं वार्षिकोत्सव यसअघि नै आयोजना गर्ने तयारी भए पनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो । यो चैत्य १३ औं शताब्दीमा युआन राजवंशकालमा बनिएर हालसम्म पनि संरक्षित ऐतिहासिक धरोहर हो । चीनमा रहँदा कलाकार अरनिकोले ऐतिहासिक सम्पदा निर्माण गरी नेपाल–चीन मित्रताका प्रमाण छाडेका चिनियाँ इतिहासकारहरू बताउँछन् ।
चीनका यी जातीय कवि ची ती माच्याका अनुसार युआन राजवंशकालका राजगुरु फाग्पाको चेलासमेत रहेका अरनिकोले नेपाल–चीन मित्रतामा गहिरो प्रभाव छाडे । द पेपरको चिनियाँ संस्करणका अनुसार फाग्पा स्वयंले विभिन्न जातीय समूहबीच सांस्कृतिक एकताका लागि खेलेको भूमिकामा अरनिकोले तिब्बत, बेइजिङ र वुथाइसानमा बौद्ध मन्दिर बनाएर थप योगदान पुर्‍याएका हुन् ।
युआन वंशमा श्वेत चैत्यलाई ता शनशौ वानआन मन्दिर भनिन्थ्यो भने मिङ राजवंशमा यसको नाम परिवर्तन भएर म्याओयिङ पाइ था श् भएको हो । उक्त चैत्य चीनको राजधानी बेइजिङको सि छङ् जिल्लास्थित फुछङमन् उत्तरी मार्गमा छ ।

Page 9
अर्थ वाणिज्य

कहाँ अड्कियो नेपालको विद्युत् बंगलादेश लैजाने प्रक्रिया ?

बंगलादेश पठाउने बिजुलीका लागि प्रसारण लाइन निर्माण गर्न भारतीय भूमि प्रयोग गर्नर्पुर्छ, त्यसका लागि त्रिपक्षीय वार्ता, सहमति तथा सम्झौता हुनुपर्छ, जुन भएकै छैन
- जगदीश्वर पाण्डे

(काठमाडौं)
नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रको सहकार्यमा भारतको भूमिका निर्णायक बनेको छ । बंगलादेश पठाउन विद्युत् प्रसारण लाइन निर्माणका लागि भारतीय भूमि प्रयोग गर्न पाए मात्र नेपालले बंगलादेशलाई आवश्यक ऊर्जा निर्यात गर्न सक्छ । नत्र नेपालमा उत्पादित विद्युत् बंगलादेशले किन्न असम्भव हुन्छ ।
ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बंगलादेशले ५ देखि १० हजार मेगावाट विद्युत् किन्न सक्छ । बंगलादेशमा कोइलामार्फत विद्युत् उत्पादन गरिन्छ । जुन महँगो परिरहेको छ । नेपालबाट निर्यात हुने विद्युतीय ऊर्जा कोइलाभन्दा निकै सस्तो पर्छ । अर्को महत्त्वपूर्ण पक्ष बंगलादेश र भारतलाई वर्षायाममा बढी बिजुली चाहिन्छ । वर्षायाममा भारतको माथिल्लो भेग र बंगलादेशमा गर्मी हुन्छ, यस बेला ऊर्जाको खपत बढी हुन्छ । नेपालमा भने वर्षायाममा बिजुली बढी भएर खेर जान्छ । बढी हुने बिजुलीको बजार भारत र बंगलादेश हुन् ।
तर त्यसका लागि नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न त्रिपक्षीय वार्ता गर्नुपर्ने पूर्वऊर्जा सचिव देवेन्द्र कार्की बताउँछन् । ‘मेरो कार्यकालमा पनि त्रिपक्षीय वार्ताका लागि भारतसँग लगातार प्रयास गरेका हौं । तर त्यो सफल हुन सकेन,’ यही जेठमा मन्त्रालयबाट अवकाश पाएका पूर्वसचिव कार्कीले भने, ‘हामीले भनेको भारतले नसुनेपछि बंगलादेशलाई भारतसँग त्रिपक्षीय वार्ताको आग्रह गर्न भनेका छौं । किनकि अहिले भारत र बंगलादेशको सम्बन्ध हाम्रोभन्दा राम्रो र घनिष्ठ छ ।’
बंगलादेशले नेपालबाट विद्युत् आपूर्तिका लागि भारतसँग उच्च तहमै वार्ता गरेको छ । बंगलादेशले नेपालको बिजुली आफ्नो देशमा लैजाने बाटो खोलिदिन भारतलाई लामो समयदेखि आग्रह गरे पनि पछिल्लो केही समय उच्च तहमै पहल हुन थालेको हो । गत सेप्टेम्बर ५ देखि ८ सम्म भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपाल र भुटानमा उत्पादित बिजुली भारतीय भूमिबाट लैजाने अनुमतिका लागि आग्रह गरेकी थिइन् ।
हसिनाको भ्रमणपछि भारतीय विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा ‘बंगलादेशले नेपाल र भुटानबाट बिजुली लैजान भारतको अनुमति मागेको छ’ भन्ने उल्लेख थियो । भारतीय पक्षले भने यसअघि नै अन्तरदेशीय विद्युत् व्यापारका लागि गाइडलाइन तयार पारिसकेकाले सोहीअनुसार अघि बढ्न सकिने जवाफ दिएको छ । भारतको विद्युत् मन्त्रालयले सन् २०१८ मा ‘गाइडलाइन फर इम्पोर्ट/एक्सपोर्ट (क्रस बोर्डर) अफ इलेक्ट्रिसिटी’ जारी गरेको छ । उक्त गाइडलाइनअनुसार अन्तरदेशीय विद्युत् व्यापारका लागि द्विपक्षीय र बहुपक्षीय सहमति गर्न सकिने जवाफ भारतले बंगलादेशलाई दिएको हो । नेपालको विद्युत् भारतको बाटो हुँदै बंगलादेश लैजान बंगलादेश र भारतबीच उच्च तहमै संवाद भइरहेको अवस्थामा नेपाल र बंगलादेशका अधिकारीले पटक–पटक भेटवार्ता गर्दै यस विषयमा गृहकार्य गरिरहेका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका सम्बन्धित अधिकारीसँग गत साता भेटवार्ता गर्दै दुई मुलुकबीच ऊर्जालगायत विभिन्न विषयमा द्विपक्षीय सहकार्यका लागि जोड दिए । बंगलादेशका अधिकारीले पनि ऊर्जा सहकार्यका लागि जोड दिएका छन् ।
राजदूत भण्डारीले बुधबार बंगलादेशका परराष्ट्र राज्यमन्त्री मोहम्मद शाहरिअर अलामसँग पनि भेटवार्ता गरेका छन् । बंगलादेशको परराष्ट्र मन्त्रालयका अनुसार दुवै पक्ष ऊर्जा, व्यापार र वाणिज्य, कनेक्टिभिटी, पर्यटनलगायत विषयमा सहकार्य गर्न सहमत भएका छन् । राज्यमन्त्री आलमसँगको भेटवार्तापछि नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्नेबारे छलफल भएको नेपाली राजदूत भण्डारीले उल्लेख गरेका छन् । राजदूत भण्डारीले बंगलादेशको ‘पावर डेभलपमेन्ट बोर्ड’ का अध्यक्ष मोहम्मद महाबुबुर रहमानसँग भेटवार्ता गरेका थिए । उक्त अवसरमा नेपाल र बंगलादेशबीच चलिरहेको द्विपक्षीय ऊर्जा वार्ताको समीक्षासमेत भएको थियो । ढाकास्थित नेपाली राजदूतावासका अनुसार दुई मुलुक ऊर्जा सहकार्य गर्न सहमत छन् ।
नेपाली राजदूत अधिकारीले गत अक्टोबर २५ मा प्रधानमन्त्री हसिनासँग गरेको शिष्टाचार भेटमा पनि ऊर्जा सहकार्यको विषयमा उठेको थियो । भेटवार्तापछि नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र बंगलादेशबीच व्यापार, पारवहन, ऊर्जा, शिक्षा, पर्यटनलगायत सहकार्यका विषयमा छलफल भएको थियो । त्यस अवसरमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले ऊर्जा क्षेत्रलाई पनि जोड दिँदै सहकार्य गर्नेबारे बताएकी थिइन् । व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा उपलब्ध सम्भावनालाई प्रकाश पार्दै उनले उपक्षेत्रीय संगठन भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) को ढाँचामार्फत विस्तारित कनेक्टिभिटीको अपरिहार्यमा जोड दिएकी थिइन् ।
बीबीआईएनलाई अघि बढाउन भुटानले भने सहजै मानिरहेको छैन । बंगलादेशको सरकारी पावर ट्रेडिङ बोर्डले नेपालको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनी जीएमआरसँग ५०० मेगावाट विद्युत् लैजाने सहमति जनाइसकेको छ । यही कात्तिक २१ मा नेपालले भारतमा विद्युत् निर्यात गरिसकेको उल्लेख गर्दै ऊर्जामन्त्री पम्फा भुसालले अब बंगलादेशलगायत छिमेकी देशलाई विद्युत् बिक्रीको बाटो खुलेको बताइन् । बंगलादेशसँग सकारात्मक रूपमा विद्युत् व्यापारका लागि गृहकार्य भइरहेको उनको दाबी छ । मन्त्री भुसालले गत भदौमा पनि प्रतिनिधिसभाको बैठकमा माथिल्लो कर्णालीको बिजुली बंगलादेशलाई बेच्न सके बहुपक्षीय व्यापारको ढोका खुल्ने बताएकी थिइन् । असार ३१ मा लगानी बोर्डको सिफारिसमा मन्त्रिपरिषद् बैठकले भारतको निजी कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) लाई माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद दुई वर्ष थप्ने निर्णय गरेको थियो । तर म्याद थपको निर्णय कार्यान्वयन नगर्नू/नगराउनू भन्दै सर्वोच्च अदालतले गत साता अन्तरिम आदेश दिइसकेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कात्तिक १७ मा अन्तरिम आदेश जारी गर्दै माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न दिएको थप समयावधिलाई कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । जसले गर्दा अब उक्त आयोजना कसरी अघि बढ्छ भन्ने अन्योल बढेको छ । आदेशमा जीएमआरले फेरि लगानी जुटाउने सीमा लम्ब्याउन गरेको प्रस्तावमा सरकारले हालै २ वर्षको समयसीमा दिएको थियो । करिब १५ वर्षदेखि जीएमआरले आयोजना होल्ड गर्दै आएको छ । सरकारले उसैलाई पटकपटक म्याद थप्दै आएको छ ।

९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको आयोजना निर्माणमा सवा १ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ । सरकारले २७ प्रतिशत सेयर पुँजी निःशुल्क पाउने र १२ प्रतिशत अर्थात् १०८ मेगावाट विद्युत् पनि निःशुल्क पाउने गरी सम्झौता भएको छ । नेपाल–बंगलादेशबीच गत भदौ दोस्रो साता काठमाडौंमा ऊर्जा सचिवस्तरीय वार्ता भएको थियो । उक्त अवसरमा नेपालको विद्युत् लैजान बंगलादेश सकारात्मक थियो । त्यस अवसरमा ऊर्जामन्त्री भुसाललाई भेटेर बंगलादेशका ऊर्जा सचिव मोहम्मद हबिबुर रहमानले नेपालमा उत्पादित बिजुली आफ्नो देशलाई आवश्यक रहेको र लैजान चाहेको प्रस्ट पारेका थिए । त्यस अवसरमा उनले नेपालबाट विद्युत् लैजान बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय सहकार्य आवश्यक पर्ने प्रस्ट्याएका थिए ।
पूर्वसचिव कार्की पनि बंगलादेशमा ऊर्जा निर्यात गर्न नेपालले कूटनीतिक तह र प्रधानमन्त्रीस्तरमै भारतीय पक्षसँग सहकार्य गर्नुपर्ने ठान्छन् । ‘सचिवस्तरीय बैठकमा हामीले कुरा राख्यौं । तर उनीहरू कूटनीतिक तहबाट हुनुपर्छ, माथिल्ला तहमा कुरा गर्नुपर्छ भन्थे । त्यसैले माथिल्लो तहमै कुरा गरेर नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य आवश्यक छ,’ उनले भने ।

अर्थ वाणिज्य

सधैं चुनावी नारा बन्ने नौमुरे कार्यालयमा ताला

- दीपेन्द्र बडुवाल,वीरेन्द्र केसी

(अर्घाखाँची)
संघ र प्रदेश निर्वाचन अवधिभर नौमुरे जलविद्युत् आयोजना चर्चामा रहने गर्छ । दल र उम्मेदवारको आश्वासनअनुसार आयोजना पहिल्यै सकिइसक्नुपर्ने थियो । आवश्यक बजेट विनियोजन र निर्माण प्रक्रिया अगाडि नबढाउँदा आयोजना अलपत्र छ । यसअघिका निर्वाचन जस्तै यस पटकसमेत नौमुरे नारा बनेको छ । सरकारले यसलाई गौरवको आयोजना घोषणा गरेको छ । आयोजनाबारे कुरा हुने तर काम नहुने भएको छ ।
अर्घाखाँची र प्यूठानको सीमा शीतगंगा–६ मा नौमुरे परियोजना छ । यहाँबाट २ सय ८१ मेगावाट विद्युत् उत्पादन गर्न सकिने परियोजनाले जनाएको छ । पहिलेजस्तै जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवार परियोजना निर्माण पूरा गर्ने आश्वासन बाँडिरहेका छन् । उनीहरूले नौमुरे बहुउद्देश्यीय जलविद्युत्लाई प्राथमिकता दिने बताइरहेका बेला परियोजनास्थलमा रहेको कार्यालयमा ताला लगाइएको छ । बजेट अभावपछि ताला लगाएर कर्मचारी काठमाडौं फर्किएका छन् । नेपाल सरकारले लगानी गर्ने गरी दुई वर्षअघि तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले यसको उद्घाटन गरेका थिए ।
यसको काम अगाडि बढाउन ३७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ‘हेलिकोप्टरबाट गएर मैले उद्घाटन गरेको हुँ,’ एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रायमाझीले भने, ‘यसका सबै कानुनी प्रक्रिया पूरा भइसकेका छन् । त्यस बेला विनियोजित बजेट फ्रिज भयो, जसले गर्दा तलब खान नपाएपछि कार्यालयमा ताला लगाएर कर्मचारी फर्किए ।’ परियोजनाका लागि ३२ जना प्राविधिक दरबन्दी स्वीकृत भइसकेको छ । परियोजनासम्म पहुँचमार्ग निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई पूर्णता र मुआब्जाका काम गर्नुपर्ने उनले बताए । ‘चालु वर्षबाट ठेक्का लाग्छ होला,’ उनले भने ।
स्थानीयका अनुसार परियोजनाबारे पञ्चायतकालदेखि चर्चा हुँदै आएको हो । प्रत्येक चुनावका बेला यसलाई प्रमुख नारा बनाउने गरिएको छ । दुई वर्षअघि कार्यालय उद्घाटन हुँदा परियोजनाको काम अघि बढ्ने विश्वास पलाएको स्थानीय जुनबहादुर पुलामीले बताए । ‘काम हुन्छ भन्ने धेरै आशा जागेको थियो,’ उनले भने, ‘अहिले काम ठप्प भयो, चुनाव जित्न देखावटी काम गरेको जस्तो लाग्न थालेको छ ।’ उनले भनेजस्तै जिल्लाका उम्मेदवारले नौमुरेजस्तै अपूरा आयोजना देखाएर भोट मागिरहेका छन् ।
नौमुरेबाट अर्घाखाँचीलाई धेरै लाभ मिल्ने सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार पुष्पा भुसालको भनाइ छ । ‘यसको सम्बन्ध प्यूठान, दाङ, कपिलवस्तुसित पनि छ,’ उनले भनिन्, ‘यी जिल्लाले ऊर्जा र सिँचाइबाट लाभ लिनेछन् ।’ यसलाई पूर्णता दिन सबै जिल्लाको साझा पहल जरुरी हुने उनले बताइन् । ‘हामीले सक्दैनौं भने विदेशी लगानी खोज्नुपर्छ,’ उनले भनिन्, ‘अब अल्झाइरहनु हुँदैन ।’
मतदाता भेटघाटलाई तीव्रता दिइरहेकी भुसालले परियोजना पूरा गर्न लागिपर्ने बताइरहेकी छन् । यसलाई मुख्य एजेन्डाका रूपमा उठाएकी छन् । नयाँ सरकारले ठोस रूपमा यसको काम अगाडि बढाउने उनको भनाइ छ । ‘परियोजनाबाट अर्घाखाँची आसपास जिल्लाको आर्थिक रूपान्तरण सम्भव छ,’ उनले भनिन्, ‘पहाडमा ऊर्जा र तराईका जिल्लामा सिँचाइ सुविधा पुग्छ ।’ कृषि, पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उनको दाबी छ ।
रायमाझी ०६४ सालयता लगातार तीन निर्वाचनमा विजयी भए । उनी ऊर्जा र उपप्रधानमन्त्रीसमेत भए । जिल्लामा हुने हरेक कार्यक्रममा उनी नौमुरे परियोजनाबारे जोडतोडले कुरा उठाउँछन् । त्यसै पनि अहिलेसम्म पूर्वाधार निर्माणको काम सुरु भएको छैन । ऊर्जामन्त्री भएका बेला अर्घाखाँचीको तामातालमा नौमुरे बहुउद्देश्यीय जलविद्युत्को कार्यालय उद्घाटन गरेका थिए । ‘कार्यालय उद्घाटन गरेर काम सुरु गरेको थिएँ,’ उनले भने, ‘गठबन्धन सरकारले बजेट काटेपछि काम ठप्प भयो ।’
जिल्लामा केही वर्षअघि भारत सरकारले उपहारस्वरूप परियोजना निर्माण गरिदिने चर्चा चलेको थियो । यसको काम अगाडि बढाउन दबाब दिने उद्देश्यले जिल्लाबाट सर्वदलीय बैठक बसेर नेताहरू बारम्बर काठमाडौं गए । त्यसक्रममा उनीहरूले प्रधानमन्त्री, ऊर्जामन्त्रीलगायत दलका प्रमुख नेतालाई भेटेर सञ्चालन गर्न दबाब दिए । विद्युत् विकास विभागका अनुसार ०४४ सालमा तत्कालीन सरकारले खटाएको विशेषज्ञ टोलीले नौमुरेबाट २ सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो । पछि गरिएको अध्ययनअनुसार २ सय ८१ मेगावाट निकालिने जनाइएको छ । नौमुरेमा बाँध निर्माण गरेर २ सय १८, त्यसभन्दा जलाशय बनाएर तामातालमा ८ मेगावाट र कपिलवस्तुसम्म पानी लैजाँदै गर्दा भर्टिकल गरेर ५५ मेगावाट विद्युत् निकाल्न सकिनेबारे अध्ययन गरिएको विभागले जनाएको छ ।
०७७ चैतमा तत्कालीन ऊर्जामन्त्री रायमाझीले साइट कार्यालय उद्घाटन गरेपछि कामको सुरुवात भएको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना प्रमुख जयराम प्रजापतिले बताए । अहिलेसम्म वातावरणीय अध्ययन प्रतिवेदन, जग्गा अतिक्रमणलगायत र पहुँच मार्ग र पुल डिजाइनको काम पूरा भइसकेको उनको दाबी छ । ‘बजेट थोरै आयो, सरकारले २४ करोड रुपैयाँ बजेट मात्रै दिएको छ,’ उनले भने, ‘सम्भाव्यता अध्ययन गर्ने, परामर्शदाता सम्बन्धी काम गर्ने हो । जग्गा खरिद भएको छैन, त्यसका लागि आवश्यक बजेट उपलब्ध छैन ।’
नौमुरेलाई बहुवर्षीय परियोजनाका रूपमा लैजानुपर्ने उनको भनाइ छ । ‘सरकारले चालु बजेटमा समेटेको छैन,’ उनले भने, ‘आवश्यक बजेट सरकारबाट उपलब्ध नभएकाले काम ठप्प छ ।’ बेलाबेलामा आएर परियोजनामा काम गर्ने गरेको उनले बताए । अहिले एक आयोजना प्रमुख, दुई इन्जिनियर र एक चालक मात्रै छन् । चुनावपछि थप कर्मचारी राख्नुपर्ने उनले बताए ।
विभागले काम सुरु भएको सात वर्षभित्र निर्माण पूरा हुने जनाएको छ । त्यसका लागि १ खर्ब २८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । सरकारले बर्सेनि १८ अर्ब नियमित बजेट उपलब्ध गराए समयमै काम सकिने विभागले जनाएको छ । विभागका अनुसार नौमुरे सञ्चालनपछि विद्युत्बाटै वार्षिक १३ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान छ । पर्यटकीय क्षेत्र, माछापालन, सिँचाइलगायतबाट पनि स्थानीयले मनग्गे आम्दानी लिन सक्छन् । नौमुरेको पानी सिक्टा, फत्तेपुरसहित दाङका चारवटा सिँचाइ आयोजनामा पानी पुगेपछि बल्ल कपिलवस्तुलाई सिँचाइका लागि पानी उपलब्ध गराउने योजना छ । यहाँबाट लगिएको पानीले कपिलवस्तुको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।

Page 10
अर्थ वाणिज्य

दोर्दी करिडोरमा ८० मेगावाट बिजुली

१३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थाले
- आश गुरुङ
लमजुङको दोर्दीखोलामा निर्मित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाकोबाँध (तल) र १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनाको विद्युत्गृह (माथि) । तस्बिर: आश/कान्तिपुर

(लमजुङ)
लमजुङको दोर्दी करिडोरले मात्रै राष्ट्रिय विद्युत् प्रणालीमा करिब ८० मेगावाट बिजुली थपेको छ । यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन् । दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थालेका हुन् ।
प्रसारण लाइन नहुँदा निर्माण र उत्पादनमा ढिलाइ गरिरहेका आयोजनाले अहिले धमाधम निर्माण सक्दै उत्पादन दिन थालेका छन् । दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत् आयोजना निर्माण भएर दोर्दी करिडोरमा बिजुली जोडिएको दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइन आयोजनाले जनाएको छ ।
यी ६ आयोजनाबाट ७८ दशमलव ८३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले असोज १४ देखि व्यावसायिक उत्पादन थालेको छ । १२ मेगावाटको दोर्दी १ आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ व्यावसायिक उत्पादनको तयारीमा छ । परीक्षण उत्पादन गरिरहेको उक्त आयोजनाले तिहारपछि व्यावसायिक उत्पादन थाल्नेछ ।
चेपेखोलामा निर्माण गरेर दोर्दी करिडोरमा जडित ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाले पनि व्यावसायिक उत्पादन थालिसकेको छ । दोर्दीको शाखा छ्याङ्दीखोलाबाट गत वर्ष ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ । यसअघि दुई मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजनाले पनि बिजुली उत्पादन गरिरहेको छ ।
दोर्दी करिडोर प्रसारण लाइनले बोकेको ७८ दशमलव ८३ क्षमता बिजुली उत्पादनका लागि १४ अर्ब १८ करोड ९६ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । दोर्दीखोला जलविद्युत् आयोजना (२७ मेगावाट) ४ अर्ब ८३ करोड, माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना (२५ मेगावाट) ४ अर्ब ६४ करोड ६१ लाख, दोर्दी १ जलविद्युत् आयोजना (१२ मेगावाट) २ अर्ब, चेपेखोला साना जलविद्युत् आयोजना (८.८३ मेगावाट) १ अर्ब ५० करोड, माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजना (४ मेगावाट) ८० करोड ३५ लाख र छन्दीखोला साना जलविद्युत् आयोजना (२ मेगावाट) ४१ करोड खर्च भइसकेको छ ।दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ ८० प्रतिशत बढी निर्माण सकिएको छ । अर्को वर्ष उक्त आयोजनाले बिजुली उत्पादन गर्ने आयोजना निर्देशक अर्जुन गौतमले बताए । यसको लागत ८ अर्ब ८० करोड छ । योसमेत निर्माण हुँदा १३२ दशमलव ८३ मेगावाट बिजुली दोर्दी करिडोरमा उत्पादन हुनेछ । सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को समेत लगानी गरी दोर्दी करिडोरमा २२ अर्ब ९८ करोड ९६ लाख खर्च हुनेछ । प्रायः आयोजना स्वदेशी लगानीमा बनेका छन् । २७ मेगावाटको दोर्दीखोला आयोजनामा भने गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३५ दशमलव ७ प्रतिशत लगानी छ । ‘प्रसारण लाइन निर्माणपछि हामीले राष्ट्रिय प्रसारणमा विद्युत् प्रवाह गरिसकेका छौं,’ गौतमले भने । प्रसारण लाइन निर्माणपछि विद्युत् उत्पादन गरिएको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाका सञ्चालक राजेन्द्र वस्तीको भनाइ छ ।
‘प्रसारण लाइन नहुँदा आयोजनाहरूले विद्युत् उत्पादनमा ढिलाइ गरेकै हुन् । प्रसारण लाइन बनेपछि भने हामीले विद्युत् उत्पादन थालेका छौं,’ उनले भने । असोज १४ बाट २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन गरिरहेको दोर्दीखोला जलविद्युत् आयोजनाका इन्जिनियर दीपक ज्ञवालीले जनाए । असोज १७ बाट १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाले व्यावसायिक बिजुली उत्पादन गरेको दोर्दी १ जलविद्युत् आयोजनाका इलेक्ट्रोनिक इन्जिनियर विजय खड्का बताउँछन् ।
दोर्दी करिडोरले उदिपुरसम्म १० किमि प्रसारण लाइन बनाउनुपर्नेमा थप डेढ किमि निर्माण गरेको दोर्दी करिडोर आयोजना प्रमुख रमेश पौडेलको भनाइ छ । ३३ वटा टावर निर्माण गरिएकामा थप डेढ किमि प्रसारण लाइनका लागि ४ वटा टावर थपिएको छ । मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत उदिपुर सबस्टेसन बनाउन नसक्दा दोर्दी करिडोरमा उत्पादित बिजुली मध्यमर्स्याङ्दीमा लगेर जोडिएको छ । २२० केभी प्रसारण लाइनबाट मध्यमर्स्याङ्दीको १३२ केभी प्रसारण लाइनमा ‘पावर डाउन’ गर्ने काम दोर्दी करिडोरले गरेको छ । यसका लागि मर्स्याङ्दी करिडोरले ६ किमि प्रसारण लाइन निर्माण गरेको छ ।

अर्थ वाणिज्य

४ अर्बको टाइल्स उद्योग खोल्दै कजारिया सेरामिक्स

काठमाडौं (कास)– भारतको ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालको व्यापारिक समूह रमेश कर्पसँग मिलेर उद्योग सञ्चालन गर्ने भएको छ । नेपालमा सबैभन्दा ठूलो कम्पनी स्थापना गर्ने गरी दुई समूहबीच सम्झौता भएको दाबी गरिएको छ । रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजारिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार कम्पनीले वार्षिक ८ लाख वर्गमिटर उत्पादन क्षमतामा उद्योग सञ्चालन गर्नेछ । २ अर्ब ५० करोड भारु अर्थात् ४ अर्ब नेपाली रुपैयाँ पुँजीको कम्पनी स्थापना हुने भएको छ । दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ ।
सेरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने नवनिर्मित कारखाना २०२३ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको बताइएको छ ।
नेपाली बजारको मागलाई पूरा गरी निर्यात गर्ने परिकल्पनासाथ उद्योग स्थापना गर्न लागिएको सेरामिक्सका अध्यक्ष कजारियाले जानकारी दिए । नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थ टाइल्स उत्पादनमा प्रयोग गरिनेछ । ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि छौं । यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ,’ कजारियाले भने, ‘यो परियोजना तत्काल सुरु भई २०२३ को अन्त्यसम्म सञ्चालनमा आउनेछ ।’
सुविधा सम्पन्न प्लान्ट नेपालकै नमुना बन्ने उनको दाबी छ । ‘अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्ड प्राथमिकतासाथ पूरा गरिनेछ,’ उनले भने । देशमा रोजगारी सिर्जना गर्न यो उद्योग महत्त्वपूर्ण टेवा पुग्ने रमेश कर्पका कार्यकारी निर्देशक जलानले बताए । कजारिया सेरामिक्स भारतमा सेरामिक/भिट्रिफाइड टाइल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो । भारतका विभिन्न प्रदेशमा यसका ८ वटा उत्पादन कम्पनी छन् ।

अर्थ वाणिज्य

बजारमा असुसका दुई ल्यापटप

अर्थ संक्षेप

काठमाडौं (कास)– ताइवानी प्रविधि कम्पनी असुसले दुई नयाँ ल्यापटप नेपाली बजारमा ल्याएको छ । राजधानीमा शुक्रबार एक विशेष कार्यक्रम आयोजना गर्दै कम्पनीले दुई मोडल जेनबुक फोल्ड र जेनबुक प्रो १४ डुओ ओएलईडीका ल्यापटप सार्वजनिक गरेको हो । नयाँ जेनबुक लाइनअपको मूल्य ३ लाख ८८ हजार ८ सय ८८ रुपैयाँबाट सुरु हुन्छ । क्रिएटर, डिजाइनर, भ्लगर र आर्टिस्टहरूको बढ्दो आवश्यकतालाई दृष्टिगत गरी यी डिभाइसलाई नवप्रवर्तनात्मक डिजाइन तथा कटिङ एज प्रविधिमा तयार पारिएको कम्पनीको दाबी छ ।

अर्थ वाणिज्य

ग्लोबलको डिबेन्चर निष्कासनमा सनराइज बिक्री प्रबन्धक

अर्थ संक्षेप

काठमाडौं (कास)– ग्लोबल आईएमई बैंकको डिबेन्चर ‘०८४/८५’ निष्कासनका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्कासन गर्न लागेको हो । यो ११.२५ प्रतिशत ब्याजसहित पाँच वर्षका लागि निष्कासन गर्न लागिएको बैंकले जनाएको छ । यसका लागि ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अर्थ वाणिज्य

५० विद्यालयमा वर्ल्डलिंकको साइबर शिक्षा

अर्थ संक्षेप

काठमाडौं (कास)– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको सहयोगमा सातै प्रदेशमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ । वर्ल्डलिंकले पुल्चोक क्याम्पस (इन्जिनियरिङ अध्ययन संस्थान) को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागको छाता संगठन लोकसका विद्यार्थीको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्ने भएको हो । कात्तिक २० देखि २६ सम्म सञ्चालन हुने सचेतना कार्यक्रमका लागि कक्षा ८ देखि १० सम्मका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुनेछन् । अभियानमा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिसिङ, अनलाइनमा सुरक्षित रहने तरिकालगायतका विषयमा ज्ञान दिइनेछ ।

अर्थ वाणिज्य

सौर्यको अफर 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’

अर्थ संक्षेप

काठमाडौं (कास)– सौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ नामक अफर ल्याएको छ । कात्तिक १५ देखि पुस ३० सम्म लागू हुने योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोरा सिमेन्ट खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने ५ सयदेखि १० हजारसम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्नेछन् । ५० बोराभन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा शून्य अंक उल्लिखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाखसम्म नगद प्राप्त गर्न सक्नेछन् । सौर्य सिमेन्टले ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी, पीएससी र ५३ ग्रेड पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Page 11
समाचार

देश चिनाउने तस्बिर

सबै जिल्ला छिचोलेका थापाका तस्बिरमा ओलाङचुङ्गोलादेखि कालापानीसम्म र सगरमाथादेखि जानकी मन्दिरसम्म समेटिएका छन्
- सुशीला तामाङ

(काठमाडौं)
आसन्न चुनावका लागि राजनीतिक दलका नेतादेखि कार्यकर्ताहरूको दौडधुप चलिरहेको छ । सत्ता र शक्तिकेन्द्रित गरेर शासनको बागडोर चलाउने दाबीसहित घोषणापत्र जारी भइरहेका छन् । यिनै माहोललाई नियाल्दै फोटो पत्रकार भरतबन्धु थापा भने आग्रह गर्छन्, ‘एकचोटि नेपाल घुमी माटो छोएर मुलुक बुझौं अनि मात्र बोलौं ।’ भौगोलिक अवस्थिति, संस्कृति र जनजीवनलाई तस्बिरमा उतार्दै मुलुकका सबैजसो जिल्ला छिचोलेका थापा घुमन्ते फोटोग्राफरका रूपमा चिनिन्छन् ।
उनले पूर्वदेखि सुदूरपश्चिमसम्मको भूगोल, जनजीवन र त्यहाँको वास्तविकतालाई नजिकबाट नियालेका छन् । राजधानीमा बसेको सत्ता र राजनीतिले देखेको नेपालभन्दा कैयौं गुणा फरक अर्कै ‘नेपाल’ रहेको उनी सुनाउँछन् । ‘सुनेको भन्दा देखेको राम्रो, देखेको भन्दा भोगेको राम्रो हामीले भन्छौं,’ उनी भन्छन्, ‘सोचेको र हेरेको नेपाल एकदमै फरक छ ।’ प्रज्ञा प्रतिष्ठानको अनुसन्धान परियोजनाअन्तर्गत थापाको पछिल्लो पुस्तक ‘नेपाल इन इमेजेज’ गत भदौमा सार्वजनिक भएको थियो । सातै प्रदेशका विविधता समेटिएको उक्त पुस्तकमा ओलाङचुङ्गोलादेखि सुदूरपश्चिमको कालापानीसम्म तथा सगरमाथादेखि जानकी मन्दिरसम्मका तस्बिर र तिनका विवरण समावेश छन् । गत वर्ष मात्र प्रतिष्ठानबाट नै प्रकाशित ‘तस्बिरमा नेपाल’ पुस्तकलाई नै अंग्रेजीमा अनुवाद गरिएको हो । पाँच सयभन्दा बढी रंगीन तस्बिरहरू पुस्तकमा छन् । पुस्तकमा प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्य सामग्रीहरूलाई अलग–अलग रूपमा प्रस्तुत गरिएका छन् । थापा पुस्तकलाई नेपाल चिनाउने आँखीझ्यालका रूपमा लिन्छन् । उनले पूर्वी पहाडी जिल्लादेखि तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई क्यामरामा कैद गरेका छन् ।
‘पुस्तकमा संग्रहित तस्बिरहरू नेपाल चिनाउने दस्तावेज हुन्,’ उनी प्रस्ट्याउँछन् । नेपाल चिनारी दिने थापाका यसअघि ‘मध्यपुर थिमि’, ‘एक्सप्लोर फार वेस्ट’, ‘गन्तव्य कर्णाली’, ‘वेस्टर्न नेपाल’, ‘वाइल्ड वेस्ट नेपाल’ लगायतका पुस्तकहरू सार्वजनिक भइसकेका छन् । प्रतिष्ठानसँगको सहकार्यमा पुस्तक प्रकाशित गर्दा उनको मुलुक चिनाउने तस्बिर संग्रहको रहर पूरा भएको छ ।
प्रत्येक स्थानका तस्बिरहरू उनले लामो समयदेखि संग्रह गरेर राखेका थिए । प्रतिष्ठानसँग पुस्तक प्रकाशनबारे सहमति भएपछि २० प्रतिशत तस्बिरहरू मात्र उनले पछि खिचेका थिए । ८० प्रतिशत तस्बिर आफूसँग भएको संग्रहबाटै पुस्तकमा समावेश गरिएको उनले बताए । ‘तस्बिरमा नेपाल मेरो ठूलो सपना थियो’, उनले थपे, ‘प्रतिष्ठानले अफरै गर्ला भनेर त सोचेको थिइनँ । यसमा मिहिनेतको फल त आएन तर मेरो सोच पुस्तकमा छन् । म एकदमै खुसी छु ।’
थापाका लागि देश झल्काउने उनका तस्बिरहरू संग्रहित पुस्तक सबैभन्दा ठूलो सम्पत्ति हुन् । ती तस्बिरमा देशको माटो, सौन्दर्य, जनता, तिनका संस्कृति, सभ्यता, जीवनशैली, पीडा, संघर्ष र दुःखलाई उनले सम्हालेर राखेका छन् । फोटो पत्रकार र फोटोग्राफरका रुपमा उनले कर्णालीको दुःख, माथिल्लो डोल्पाको संघर्षसँगै रारा, खप्तडदेखि बडिमालिकासम्मको प्राकृतिक मनोरम सौन्दर्यलाई सँगै बोकेर राजधानी ल्याइपुर्‍याएका छन् । उनका अधिकांश तस्बिरहरू धार्मिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पक्षका सौन्दर्य, सुख, सम्भावना र आशाहरूमा केन्द्रित छन् । यात्राका क्रममा उनले भोगेका र देखेका दुखान्तका कथा अनगिन्ती छन् ।
उनले कर्णालीको दुःख, माथिल्लो डोल्पाको संघर्षसँगै रारा, खप्तडदेखि बडिमालिकासम्मको प्राकृतिक मनोरम सौन्दर्यलाई तस्बिरमा ल्याएका छन् । अधिकांश तस्बिर धार्मिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पक्षका सौन्दर्य, सुख, सम्भावना र आशाहरूमा केन्द्रित छन् ।
भौगोलिक हिसाबले सुन्दर भएर पनि यातायातको पहुँचमा असुविधाका कारण हुम्ला, माथिल्लो डोल्पालगायत कर्णाली र सुदूरपश्चिमको जनजीवन निकै कष्टकर छ । माथिल्लो डोल्पामा यार्चा टिप्न गएका मान्छेको तस्बिर खिच्ने क्रममा लेक लागेर मर्ने स्थितिमा पुगेको उनले नजिकबाट नियाले । उनले चार/पाँच वर्षको बच्चा लिएर यार्चा टिपिरहेकी महिलाको संघर्षलाई देखे । भन्छन्, ‘म तस्बिरमा दुःखपीडा देखाउन चाहन्न, सम्भावना देखाउँछु । रोग, भोक र अशिक्षा होइन त्यो ठाउँको सुन्दरता देखाएर त्यहाँ सम्भावना खोजी मेरा तस्बिरहरूले गरोस् भन्ने म चाहन्छु ।’  
खप्तडदेखि बडिमालिकाको यात्रामा २० घण्टा हिँडेर पानी खाएर कैयौं रात गोठमा सुतेको उनले बताए । हुम्लामा डोरीमा झुन्डिएर हिँडे । कर्णालीको २१ दिनको यात्रामा तीन/चार दिन नै सम्पर्कविहीन भए । उनको गुनासो छ, ‘कर्णालीको दुःख देखाएर सत्ता र पहुँचवादीहरूले व्यापार नगरोस् । कर्णाली पैसा नभएर विकट भएको होइन । सबै छ तर व्यवस्थापन हुन सकेन ।’ मुलुकको भौगोलिक अवस्था हेर्न आफ्ना तस्बिर पर्याप्त रहेको उनी सुनाउँछन् ।

Page 12
खेलकुद

सनसनीपूर्ण सेमिफाइनल समीकरण

सनसनीपूर्ण सेमिफाइनल समीकरण
भारतका सूर्यकुमार यादव अर्धशतक पूरा गरेपछि (बायाँ) । पाकिस्तानका बलर साहिन अफ्रिदी बंगलादेशविरुद्ध विकेट लिएपछि ।तस्बिर : एपी

मेलबर्न (एएफपी)– ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इंग्ल्यान्ड तथा न्युजिल्यान्डले पाकिस्तानको सामना गर्ने भएका छन् । सुपर–१२ का शृंखलाबद्ध स्तब्धपूर्ण नतिजा आइतबार पनि कायम रहेपछि यी दुई सनसनीपूर्ण सेमिफाइनल समीकरण तयार भएको हो । बिहानसम्म दक्षिण अफ्रिकाले सजिलै अन्तिम चारमा प्रवेश पाउने अनुमान गरिएको थियो । तर एडिलेड ओभलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सको हातबाट स्तब्ध भयो ।
लिग चरणको अन्तिम दिनको खेलमा डच टिमले फरक पठकथा लेख्ने क्रममा कोलिन एकरमनले २६ बलमा ४१ रन बनाए र त्यसमै टिकेर उसले प्रतियोगिताको उपाधिकै दाबेदार मानिएको प्रोटियसलाई १३ रनले पराजित गर्‍यो ।
‘डार्क हर्स’ मानिएको दक्षिण अफ्रिकाको यससँगै ह्वाइट बलको विश्वकपमा पीडादायी अनुभव कायम रह्यो र प्रशिक्षक मार्क बाउचरको कार्यकाल पनि निराशाजनक रूपमा टुंगियो । उनले खेलपछि भने, ‘इमान्दारीपूर्वक भन्दा म निकै आत्तिएको छु ।’
उनको तर्क थियो, ‘मेरो विचारमा कम्तीमा यो दक्षिण अफ्रिकी टिमले धेरै बढी गर्नुपर्ने थियो । तर दुर्भाग्य फेरि एकपल्ट हाम्रो टिमलाई परेको छ । म मात्र होइन, हाम्रो ड्रेसिङ रुममा जति पनि छन्, सबै निराश छन् ।’ यो जितपछि नेदरल्यान्ड्स ग्रुप–२ को चौथो स्थानमा रह्यो र यसको अर्थ अबको नयाँ संस्करणको विश्वकपमा उसलाई छनोट चरणबाट गुज्रिनुपर्ने छैन ।’ यो तथ्यमा बलर ब्रेन्डन ग्लोबर निकै खुसी रहे । उनले नौ रन दिएर तीन विकेट लिएका थिए ।
उनले भने, ‘यो उपलब्धि हाम्रो डच क्रिकेटका लागि निकै ठूलो हो । हामीलाई अवसर छ भन्ने थाहा थियो । विश्वास के पनि गरौं भने हामीले यो अवस्थाबाट फाइदा लिन पनि सक्छौं ।’ डच टिमको यो जितले ग्रुप–२ को समीकरण नाटकीय रूपमा फेरिएको थियो । ट्वान्टी–२० क्रिकेटमा शीर्ष वरीयताको भारत यस खेलसँगै मैदानमा ओर्लिन अगाडि नै सेमिफाइनल पुगेको थियो । यस्तोमा पाकिस्तानविरुद्ध बंगलादेशबीचको दिनको दोस्रो खेल क्वाटरफाइनलमा परिणत भएको थियो ।
फास्ट बलर साहिद साह अफ्रिकीले तीन महिनाको चोटका पीडा बिर्संदै आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन गरे । उनले २२ रनमा चार विकेट लिए र पाकिस्तान पाँच विकेटको जित निकाल्दै अविश्वसनीय रूपमा अन्तिम चारमा प्रवेश गर्न सफल रह्यो । भारतविरुद्ध अन्तिम बलमा बेहोरेको हारसँगै जिम्बावेविरुद्धको खेल पनि गुमाएको पाकिस्तानको विश्वकप यात्रा यसअघि नै टुंगेको विश्वास गरिएको थियो । तर अब उसले बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनलमा न्युजिल्यान्डको सामना गर्नेछ ।
भारतले भने जिम्बावेमाथि लिगको अन्तिम खेलमा ७१ रनको जित निकाल्न सफल रह्यो र यस नतिजाले टिम समूह विजेता पनि बन्यो । बिहीबारको सेमिफाइनल एडिलेड ओभलमा हुनेछ र त्यसमा भारतले जस बटलरको इंग्ल्यान्डको सामना गर्नेछ । भारतका लागि सूर्यकुमार यादवले ६१ र केएल राहुलले ५१ रन बनाए र भारतले पाँच विकेटमा १ सय ८६ रन बनायो । जवाफमा जिम्बावे ८२ हजारभन्दा बढी दर्शक अगाडि १ सय १५ रन मात्र बनाएर अलआउट भयो ।
सन् २००७ को विजेताले यससँगै बाँकी प्रतिद्वन्द्वीलाई बलियो चुनौतीको चेतावनी पनि दिएको छ । खेलपछि भारतीय कप्तान रोहित शर्माले भने, ‘हाम्रा समर्थकले हाम्रा लागि निकै राम्रो गरिरहेका छन् । हामी जहाँ जहाँ जान्छौं, दर्शकदीर्घा पूरा भरिएको हुन्छ । सेमिफाइनल पनि यस्तै हुने अपेक्षा छ । सबै समर्थकलाई हामी धन्यवाद दिन चाहन्छौं ।’ न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलिया तीनै टिम ग्रुप–१ मा समान सात अंकमा रहे पनि शीर्ष दुई टिमको निर्णय ‘नेट रनरेट’ ले गरेको थियो ।

खेलकुद

पब्जीको ग्लोबल च्याम्पियनसिपमा नेपालका तीन टिम

- कान्तिपुर संवाददाता

(काठमाडौं)
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टिम डीआरएस गेमिङ दोस्रो भएको छ भने स्काइलाइट गेमिङले तेस्रो स्थान हािसल गरेको छ । उत्कृष्ट प्रदर्शनसँगै नेपालका तीन टिम (डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल) ग्लोबल च्याम्पियनसिपमा छनोट भएका छन् ।
कुल १ लाख ५० हजार अमेरिकी डलर पुरस्करको चार दिन चलेको च्याम्पियनसिपमा मंगोलियाको गडलाइट स्टलवार्टले सर्वाधिक २ सय ६४ अंक जोड्दै उपाधि जित्यो । पब्जीको दक्षिण एसियाली क्षेत्रको सबभन्दा महत्त्वपूर्ण प्रतियोगितामा डीआरएसलाई गडलाइटले कडा चुनौती दियो । एसियाली खेलकुदको प्रारम्भिक चरणको छनोट जितेको टिम डीआरएसले सुरुआतमा अग्रता लिएको थियो । तर, उसले गडलाइटको आक्रामक खेललाई पन्छाउन सकेन । त्यसैले डीआरएस उपविजेतामै रोकियो । उसले २ सय ५६ अंक बनायो । स्काइलाइट २ सय ३१ अंकसहित तेस्रो स्थानमा रह्यो । पाकिस्तानको एजीएक्सआईएट (२ सय २९ अंक) चौथो र नेपाली टिम ट्रेन्ड टु किल (२ सय २० अंक) पाँचौं स्थानमा रहे ।
छनोट चरण पार गरेका १६ टिमले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपमा नेपाल र पाकिस्तानका ६–६ टिम थिए भने मंगोलियाका चार टिम सहभागी थिए । नेपालका हाई भोल्टेज (२ सय ६ अंक) सातौं भयो । इलेमेन्ट्रिक्स (१ सय २२ अंक) १२ औं र भेनम लिजेन्ड्स (१ सय १० अंक) १५ औं स्थानमा रहे । नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले नेपाली टिमका खेललाई छाया सेन्टरस्थित क्यूएफएक्समा प्रदर्शन गरेको थियो । डीआरएसले २८ हजार डलर (करिब ३६ लाख रुपैयाँ), स्काइलाइटले १८ हजार (रु.२३ लाख), ट्रेन्ड टु किलले ७ हजार डलर, हाइ भोल्टेजले ५ हजार ५ सय, इलेमेन्ट्रिक्सले ४ हजार र भेनम लिजेन्ड्सले ३ हजार डलर प्राप्त गरे । उपाधि विजेता गडलाइटले ४० हजार डलर हात पार्‍यो ।
क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल पब्जी मोइबाल ग्लोबल च्याम्पियनसिप २०२२ मा छनोट भएका छन् । कुल ४० लाख डलर पुरस्कारको ग्लोबल च्याम्पियनसिप २०२२ नोभेम्बर १० देखि २०२३ जनवरी ८ सम्म हुनेछ, जहाँ विश्वका विभिन्न क्षेत्रबाट छनोट भएका ४८ टिमले जाकार्ता र क्वालालम्पुरमा प्रतिस्पर्धा गर्नेछन् ।

खेलकुद

आर्सनल शीर्षस्थानमा फर्कियो

लन्डन (एएफपी)– आर्सनल ग्याब्रियल मेगालहेसको गोलमा चेल्सीमाथि १–० को जित निकाल्दै आइतबार प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । त्यससँगै पियरे–एमरिेक औबमेयाङको पूर्वटिमविरुद्ध बदला लिने योजना असफल रह्यो ।
मिकेट अर्टेटाको टिमले लिगका १३ खेलमा ११ औं जित हात पारेको हो । ब्राजिली डिफेन्डर ग्याब्रियलले दोस्रो हाफमा स्टामफोर्डब्रिजमा पोस्टनजिकबाट गोल गरेपछि आर्सनलको जित सम्भव भएको हो । गनर्स दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले अगाडि छ । डिफेन्डिङ च्याम्पियन सिटीले शनिबार फुलहममाथि जित हासिल गरेर केही समयका लागि अग्रता लिएको थियो । विश्वकप अगाडि प्रिमियर लिगमा एक चरणको खेल बाँकी छ । यसबेलासम्म आर्सनल उपाधि होडमा सिटीको दबदबा अन्त्य गर्दै उपाधि जित्नेमा बलियो दाबेदार देखिएको छ । यो सिजन आर्सनलले घरेलु मैदानमा टोटेनहम र लिभरपुललाई पनि पराजित गरेको छ । पूर्वी लन्डनमा हात पारेको जितले आर्सनललाई अनपेक्षित रूपमा उपाधि होडमा अघि बढाएको छ । आफ्नै पूर्वस्टार औबमेयाङलाई गुमाएका कारण आर्सनलका लागि अरूभन्दा मिठो जित पनि हो चेल्सीविरुद्धको सफलता ।
कप्तानी खोसेपछि गत जनवरीमा बार्सिलोनालाई बेचिएका औबमेयाङले आफ्नो पूर्वक्लबविरुद्ध पहिलोपल्ट खेलेका हुन् । दोहोर्‍याएर अनुशासन उल्लंघन गरेपछि अर्टेटाले गेबोनका फरवार्डविरुद्ध धैर्यता गुमाएका थिए ।

खेलकुद

आर्मी सुरक्षित

लुम्बिनीका कृष्ण कार्की ब्याटिङ गर्दै ।  तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौं (कास)– पूर्वानुमान गर्नै नसकिने मूलपानी क्रिकेट मैदानको विकेट । अनि अघोषित क्वाटरफाइनल खेल । यो अन्योल र दबाबलाई चिर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । पुलिसले आइतबार गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरी नकआउट चरणमा सुरक्षित भएको हो ।
४ खेलमा ७ अंक जोडेर नेपाल एपीएफ क्लब यसअघि नै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । बाँकी एक स्थानका लागि गण्डकी र आर्मीको प्रतिस्पर्धा थियो । गण्डकीले यस प्रतियोगितामा निकै उत्कृष्ट खेलेको थियो र दाबेदार मानिएको एपीएफविरुद्ध अघिल्लो खेल ‘टाई’ मा टुंगाएको थियो । तर सेमिफाइनल पुग्न टोलीले आर्मीसँगको हारलाई टार्नुपर्ने थियो । पहिला ब्याटिङमा निम्त्याइएको आर्मीले २१ ओभरभित्र ५४ रन बनाउँदा ६ विकेट गुमाइसकेको अवस्थामा गण्डकीको टस जितेर फिल्डिङ गर्ने निर्णयले बल पुगेको थियो । कप्तान विनोद भण्डारी र भीम सार्कीले सातौं विकेटमा जोडेको ८६ रनले आर्मीलाई ज्यान भरेको थियो । भीमले ४५ बल खेली ३ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाए । आउट हुने अन्तिम खेलाडी विनोदले ७९ बलको इनिङ्समा ५ चौका र २ छक्का प्रहार गरी ५४ रन बनाए ।
ओपनरद्वय अर्जुन साउद र अनिल मण्डलले १५ ओभरभित्र ४३ रन जोडेर कठिन पिचमा आर्मीलाई राम्रो सुरुआत दिलाएका थिए । तर त्यसपछिको ६ ओभरमा टोलीले अर्जुन (१३), अनिल (२६), हरि चौहान (६), रोहित पौडेल (४), कुशल मल्ल (०), सुशन भारी (१) लाई गुमाइसकेको थियो । तल्लोक्रममा विक्रम सोब ३, शाहब आलम १ रनमा आउट भए । गण्डकीका कप्तान विपिन खत्रीले ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चे । कमल परियारले २ तथा अमृत गुरुङ, चन्द्र पौडेल र सुवास भण्डारीले १–१ विकेट लिए ।
ओपनरद्वय अर्जुन कुमाल र समीर कँडेलले दोहोरो स्कोर बनाए पनि गण्डकी ३३.२ ओभरमा ९६ रनमा अलआउट भयो । अर्जुन १४ र समीर ३९ रनमा आउट भए । यी दुईबाहेक विपिन (१९) ले मात्र गण्डकीबाट दोहोरो स्कोर बनाए । समीरले ९२ बल खेली ५ चौका प्रहार गरे । आर्मीबाट प्लेयर अफ द म्याच सुशन भारीले ५ विकेट लिए । देब्रे हाते स्पिनर उनले ९ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे । शाहब र कुशलले २–२ तथा विक्रमले १ विकेट लिए ।

देवको उत्कृष्ट लय
लुम्बिनीका कप्तान देव खनालले प्रतियोगितामा आफ्नो उत्कृष्ट ब्याटिङलाई कायमै राखेका छन् । देवले प्रदेश १ विरुद्ध ८९ रन बनाए । चार खेलमा उनले तेस्रो पटक अर्धशतक बनाएका हुन् । उनको सानदार इनिङ्समा लुम्बिनीले त्रिवि क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ९० रन बनायो ।
अंकित सुवेदी र कप्तान सिद्धान्त लोहनीले अर्धशतक बनाए पनि प्रदेश १ जिततर्फबाट मोडिएर ४६ ओभरमा २ सय ५१ रनमा अलआउट भयो । दोस्रो जितसँगै लुम्बिनीले समूह चरणको यात्रा टुंगाएको छ । लुम्बिनी तेस्रो स्थानमा छ । नेपाल पुलिस क्लब लगातार तेस्रो खेल जितेर यसअघि नै सेमिफाइनल पुगिसकेको छ । मधेस पनि पहिलो दुई खेल जितेर सेमिफाइनलको दाबेदार छ । मधेसले बाँकी रहेको वाग्मती र पुलिसमध्येको एक खेल जितेमा पनि सेमिफाइनल पुग्नेछ । तर दुवै खेलमा पराजित भएमा टोली र लुम्बिनीको समान ४ अंक हुनेछ र निर्णय रनरेटमा पुग्नेछ ।
देवले ९८ बलको इनिङ्समा ११ चौका प्रहार गरे । प्रज्वल थापा ३ रनमै आउट भएसँगै देवले आकाश त्रिपाठीसँग दोस्रो विकेटमा १ सय ३ रनको साझेदारी गरे । सन्दीप रजालीको बलमा उनी ननस्ट्राइकमा रनआउट हुन पुगे । आकाशले ७१ बल खेली ४ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए । बसिर अहमद १३, सन्दीप ४४, विशालविक्रम केसी ३२ र कृष्ण कार्की ३१ रनमा आउट भए । सन्दीपले ३८ बल खेली ४ चौका र १ छक्का, विशालले ३६ बल खेली ५ चौका र कृष्णले २३ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । प्रदेश १ का दीपक जोशीले ९ ओभरमा १ मेडन राख्दै ५५ रन खर्चेर ४, श्रवण यादवले २ र लव कामतले १ विकेट लिए ।
निरोज मुखिया र अंकितले १३ ओभरभित्र ८५ रन जोडेर प्रदेश १ लाई निकै राम्रो सुरुआत दिलाए । निरोजलाई ४६ रनमा आउट गरेर तुलबहादुर थापाले यो साझेदारी तोडे । निरोजले ३७ बल खेली १० चौका प्रहार गरे । विवेकआनन्द मेहता ७, मिनास थापा शून्य रनमा आउट भए । अंकितले ४८ बलमा ५२ रन बनाउने क्रममा १० चौका प्रहार गरे । फिर्दोष अन्सारी १६, सोनु अन्सारी ३ र श्रवण १५ रनमा आउट भए । सिद्धान्तले ७४ रन बनाए । उनले ६० बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । सोनु मण्डल २३ बलमा २० रन बनाई अविजित रहे । लुम्बिनीका दुर्गेश गुप्ता, बसिर र देवले २–२ तथा नरेश नेपाली, अनिल खरेल र तुलबहादुरले १–१ विकेट लिए ।

 

आजको खेल
वाग्मतीविरुद्ध मधेस, कीर्तिपुर
सुदूरपश्चिमविरुद्ध कर्णाली, मूलपानी

खेलकुद

पिकेको संन्यास

बार्सिलोना (एएफपी)– जेरार्ड पिकेलाई बार्सिलोनाले ‘महान्’ कै रूपमा सम्झिनेछ । उनले क्लबका लागि उपाधिपछि उपाधि जिते । सम्झनालायक समय बिताए । त्यसमा विवाद पनि उत्तिकै थियो । आफ्नो समयमा उनले उत्कृष्ट प्रदर्शन गरे । पछिल्लो समय उनको खेल भने खस्किँदै गएको थियो ।
यी ३५ वर्षीय डिफेन्डरले बार्सिलोनाको अनुबन्धलाई छोट्याएका थिए, तर पनि साढे एक वर्षको सम्झौता बाँकी थियो । शनिबार स्पेनी ला लिगामा उनले बार्सिलोनाका लागि नु क्याम्पमा अन्तिम पटक खेले । खेल आल्मेरियाविरुद्ध प्राप्त जित थियो । सम्भवतः मंगलबार उनी ओसासुनाको भ्रमणमा पनि निस्कनेछन् । उनका साथी खेलाडी तथा अहिलेका प्रशिक्षक ज्याभी हर्नान्डेजले सन् २०१५ मा अद्वितीय उपलब्धिसँगै क्लब छाडेका थिए । त्यति बेला बार्सिलोनाले ‘ट्रेबल’ उपाधि चुमेको थियो ।
पिके भने यति धेरै भाग्यमानी रहेनन् । लज्जास्पद रूपमा युरोपेली च्याम्पियन्स लिगको समूह चरण नै पार गर्न नसकेको बेला पिके संन्यास लिने निर्णयमा पुगेका थिए । पछिल्लो समय उनी पहिलो रोजाइका खेलाडी हुन छाडेका थिए । उनको प्रदर्शनमाथि सबैको छड्के नजर थियो । उनको केही अप्रत्याशित र धेरै एकाएक घोषणा भएको संन्यासले स्थिति के कस्तो थियो, देखाउँछ । उनले स्वाभिमानीपूर्वक खेल छाड्ने निर्णय गरे, अन्यथा उनी क्लबमा घटुवाको सिकार हुने पूरापूर सम्भावना थियो ।
आफ्नो उत्कृष्ट समयमा उनीलाई क्लब इतिहासकै सबैभन्दा उम्दा डिफेन्डर मानिएको थियो । उनले तीन च्याम्पियन्स लिग जिते । अनि आठ ला लिगा र सात कोपा डेल रे पनि जिते । पछिल्ला केही समय भने पिके मात्र होइन, क्लब स्वयंको प्रदर्शन आरोलो लागेको थियो, विशेषतः युरोपमा बार्सिलोना लगातार असफल रहेको थियो । इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको खेलमा पिकेकै भूलमा बार्सिलोनाले गोल खाएको थियो र पछि खेलको समाप्तिमा क्लब पनि नकआउट चरण अगाडि नै बाहिरियो । क्लब समर्थक पनि उनकाविरुद्ध देखिन थालेका थिए र उनीहरू पिकेको प्रदर्शनबाट सन्तुष्ट थिएनन् ।
तर आल्मेरियाविरुद्धको खेलमा तिनै समर्थकले उनलाई भावपूर्ण बिदाइ दिए, तिनलाई पनि राम्रोसँग थाहा थियो, पिके क्लबका महान् हुन् । खेलको ८४ औं मिनेटमा उनलाई सब्स्टिच्युट गरिएको थियो । उनी आफैं भावनात्मक रहे । आँसु लुकाउन सकेनन् । ज्याभीदेखि लिएर सबै साथी खेलाडी उनको सम्मानमा नतमस्तक देखिए । खेलपछि मैदानबाटै बोल्दै उनले भने, ‘म यहीं जन्मेको हुँ, यहीं मर्नेछु । मलाई पूरा विश्वास छ, भविष्यमा म फेरि यहीं फर्कनेछु ।’