You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

संसद्मा महिला प्रतिनिधित्व झन् कमजोर

- प्रकाश धौलाकोटी

(काठमाडौं) - प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा ७ जना मात्रै महिला निर्वाचित भएका छन् । मतगणना भइरहेका ५ क्षेत्रमा महिला कडा प्रतिस्पर्धामा छन् । समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा एकातिर संसद्मा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ भने अर्कोतिर समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने सम्भावना बढेको छ ।
२ हजार ४ सय १२ उम्मेदवारमध्ये २२५ जना मात्र महिला थिए, तीमध्ये एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका छन् । एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जितेकी छन् ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा उम्मेदवार रहेका १४ महिलामध्ये ११ जना पराजित भइसकेका छन् । माओवादीकी रेखा शर्माले दाङ–२ बाट चुनाव जितेकी छन् । कांग्रेसका चित्रलेखा यादव र सीता गुरुङ अझै प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सुनसरी–१ र एमालेकी भगवती चौधरी सुनसरी–३ मा अग्रस्थानमा छन् । एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा–२ मा भने मतगणना
भएको छैन ।
संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने भनेको छ । तर, यस पटक प्रत्यक्षमा सबै पुरुष मात्रै निर्वाचित हुने र समानुपातिकमा थ्रेसहोल्डसमेत नकटाउने दलको संख्या धेरै हुँदा महिलाको प्रतिनिधित्व घट्ने सम्भावना देखिएको छ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रत्यक्षमा कम महिला निर्वाचित हुँदा संसद्मा महिलाको प्रतिनिधित्व घट्ने सम्भावना बढेको बताउँछिन् । ‘दलहरूले महिलालाई उम्मेदवार बनाउन कञ्जुस्याइँ गरे । उम्मेदवार नै कम भएपछि धेरै महिलाले जित्ने कुरै भएन,’ उनले कान्तिपुरसँग भनिन्, ‘अब प्रत्यक्षमा धेरै महिलाले नजित्ने, स्वतन्त्र उम्मेदवार र थ्रेसहोल्डसमेत नपुग्ने दलबाट धेरै उम्मेदवार विजयी हुँदा संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशतसमेत पुग्दैन । दलहरूले समानुपातिकबाट यसलाई भरपूर गर्नुपर्ने हुन्छ ।’

प्रत्यक्षमा पुरुष मात्रै विजयी भए पनि समानुपातिक सिट पाउने दलले समानुपातिकबाट आफ्नो दलबाट निर्वाचित हुने सदस्यमध्ये ३३ प्रतिशत महिला निर्वाचित गराउनैपर्ने व्यवस्था छ । तर, यस पटक प्रत्यक्षमा जित्ने र समानुपातिकमा थ्रेसहोल्ड नपुग्ने दलसमेत छन् । प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी, ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र १–१ सिट जितेका जनमत र नेपाल मजदुर किसान पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना कम छ । यी दल र स्वतन्त्र उम्मेदवार भएर जितेका ५ समेत गरी २४ जना छन् । संविधानको व्यवस्थाबमोजिम संसद्मा ३३ प्रतिशत महिलाको संख्या पुग्न यीमध्ये पनि ७ जना महिला निर्वाचित हुनुपर्ने थियो । तर, यीमध्ये एक जना मात्रै महिला छिन् । जसकारण संसद्मा महिलाको प्रतिनिधित्व ३० प्रतिशतको हाराहारी मात्रै हुने देखिन्छ । तर, महिला नेता र अधिकारकर्मीहरू भने निर्वाचन आयोगले विशेष निर्देशन दिएर भए पनि संसद्मा महिलाको प्रतिनिधित्व घट्न दिन नहुने बताउँछन् ।
महिला तथा बालबालिकामन्त्री उमा रेग्मी संसद्मा एक तिहाइ महिलाको प्रतिनिधित्व घट्न दिन नहुने बताउँछिन् । ‘प्रत्यक्षमा महिलाको उम्मेदवारी नै कम भयो, त्यसैले कम महिलाले जित्ने कुरा स्वाभाविक हो । तर, संसद्मा प्रतिनिधित्व ३३ प्रतिशतभन्दा पनि कम हुने कुरा राम्रो होइन,’ उनले भनिन् । विश्लेषक माधवी भट्ट निर्वाचन आयोगले विशेष निर्देशन दिएर भए पनि प्रतिनिधिसभामा ३३ प्रतिशत संख्यामा महिला निर्वाचित गराउनुपर्ने बताउँछिन् । ‘पार्टीले महिलालाई विश्वास गरेनन्, हाम्रो समाजले पनि महिलालाई विश्वास गरिहाल्ने अवस्था बनेको छैन, धेरै महिला पराजित हुनु त्यसैको परिणाम पनि हो,’ उनले भनिन्, ‘त्यसो भन्दैमा महिलाको प्रतिनिधित्व कमजोर हुन दिन हुँदैन ।’
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्मुखमै महिला सांसदहरूले प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने माग गरेका थिए । त्यही बेला निर्वाचन आयोगले समेत ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको थियो । तर, आयोगको त्यो निर्देशन मानेनन्, न त महिला नेताहरूको आग्रह पनि सुनेनन् । जसकारण उम्मेदवारीमा यस पटक पनि विगतकै जस्तै न्यून उम्मेदवारी पर्‍यो ।
कांग्रेसले उम्मेदवारी दिएका ९१ मध्ये ५ जना महिला उम्मेदवार थिए । तर, अहिलेसम्म कांग्रेसले जितेका ४५ सिटमध्ये एक जना पनि महिला छैनन् । महिला उम्मेदवार रहेका तीन क्षेत्रको परिणाम आइसकेको छैन । मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय (डिना), अर्घाखाँचीमा पूर्वउपसभामुख पुष्पा भुसाल र मोरङ–२ मा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला पराजित भएका छन् । सिरहा–२ मा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव उम्मेदवार छिन्, जारी मतगणनामा जसपाका राजकिशोर यादवले अग्रता लिएका छन् ।
नेकपा एमालेले १४१ सिटमा उम्मेदवारी दिँदा ११ महिलालाई उठाएको थियो । एमालेबाट उम्मेदवारी दिएका पाँच महिला पराजित भएका छन् । कञ्चनपुर–३ मा नीरुदेवी पाल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली र डोटीमा गौरीकुमारी ओलीले जित हासिल गर्न सकेनन् ।
माओवादीले ४६ सिटमा उम्मेदवारी दिँदा महिला ७ जना थिए । अहिलेसम्म १४ सिटमा विजयी हुँदा रेखा शर्माले मात्रै चुनाव जितेकी छन्, ६ जना पराजित भएका छन् । शर्माले दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले हराएकी हुन् । काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्ती, ललितपुर–३ मा हाल ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल, काठमाडौं–१० मा अञ्जना विशंखे, काठमाडौं–७ मा मानुषी यमी भट्टराई, काठमाडौं–९ मा कल्पना धमला, जुम्लामा गोमा गौतम र कञ्चनपुर–१ बिना मगर पराजित भएका हुन् ।
त्यस्तै, गुल्मी–२ मा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री पराजित भएकी छन् । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्यूठानमा चुनाव हारिन् । राष्ट्रिय स्वतन्त्र
पार्टी (रास्वपा) ले १३१ क्षेत्रमा उम्मेदवारी दिएकामध्ये १२ महिला थिए । ७ सिट जित्दा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की निर्वाचित भएका छन् । अहिले पाँच सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोही पनि महिलाले चुनाव जितेका छैनन् । जनता समाजवादी पार्टीले सात जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । तर, कसैले पनि चुनाव जितेनन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली–१ बाट चुनाव जितेकी छन् ।
उम्मेदवारीका हिसाबले हेर्दा यस पटक तुलनात्मक रूपमा ०७४ को भन्दा बढी हो । त्यसबेला १२९ जना महिला उम्मेदवार थिए । तीमध्ये १६ जना प्रमुख राजनीतिक दलबाट थिए । जबकि यसपटक प्रमुख दलबाट २५ महिला उम्मेदवार थिए । तर, चार दलको गठबन्धनबाट उम्मेदवार हुँदासमेत धेरै महिला पराजित हुनु दुःखद भएको महिला नेताहरू बताउँछन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी महिलामन्त्री रेग्मी गठबन्धन हुँदासमेत महिला नेताहरू पराजित हुनुमा ‘मनी र मसल’ प्रमुख कारण रहेको बताउँछिन् । ‘चुनाव जित्न संगठन प्रमुख आधार हुन्छ । त्यो महिला भए पनि हो, पुरुष भए पनि उही हो । तर, अहिलेको चुनाव खर्चिलो छ, तडकभडक गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘हामी महिला तडकभडक गर्न सक्दैनौं, करोडौं रुपैयाँ खर्च गर्न सक्दैनौं ।’ दलहरूले महिलाले जित्दैनन् भन्ने मानसिकता राख्दा तल्लो तहसम्म त्यसले प्रभाव पारेको उनको भनाइ छ । ‘त्यत्रो हेभिवेट उम्मेदवारलाई गठबन्धनबाट रेखा शर्माले जित्नुभयो, तेह्रथुममा सीता गुरुङले ०४८ सालदेखि चुनाव जितेको विजय सुब्बालाई हराउँदै छिन्,’ उनी भन्छिन्, ‘महिलाले जित्नै सक्दैनन् भन्नु गलत हो भनेर सावित गर्न यही उदाहरण पर्याप्त छन् ।’

मुख्य पृष्ठ

स्वतन्त्रबाट उदाएकाहरू

- कान्तिपुर संवाददाता

 

 

काठमाडौं (कास)– प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पाँच जनाले जितेका छन् । प्रतिनिधिसभाका १ सय ६५ सिटका लागि ८ सय ६७ स्वतन्त्र उम्मेदवार थिए । प्रदेशसभामा भने हालसम्म ११ जना विजयी भएका छन् । प्रदेशतर्फ ३ सय ३० सिटमा १ हजार ९४ स्वतन्त्र उम्मेदवार थिए ।
प्रतिनिधिसभातर्फ मोरङ–५ मा योगेन्द्र मण्डल, सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरण साह, रौतहट–३ मा प्रभु साह र बर्दिया–२ मा लालवीर चौधरी विजयी भएका छन् ।
मोरङ–५ मा योगेन्द्रले माओवादीका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवलाई पराजित गरेका हुन् । उनले २१ हजार ८ सय २० मत ल्याउँदा शिवकुमारले १७ हजार ४ सय ८६ र राजकुमारले १७ हजार ३ सय ९० मत पाए । शिवकुमारलाई सत्ता गठबन्धनको र राजकुमारलाई एमालेको साथ थियो । योगेन्द्रलाई एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो तर अन्तिम समयमा जसपासँग तालमेल हुँदा उक्त क्षेत्र जसपाको भागमा परेपछि मण्डलले बागी उम्मेदवारी दिएका थिए ।

कांग्रेस र एमालेको उम्मेदवार
नहुँदाको लाभ योगेन्द्रले पाए । धनपालथान गाउँपालिका–२ का बासिन्दा उनी मुलुककै ठूलो लघुवित्त संस्थामध्येको जीवन विकास समाजका सञ्चालक हुन् ।
कांग्रेसबाट टिकट नपाएपछि सर्लाही–४ मा बागी उम्मेदवारी दिएका सिंह २० हजार १७ मत ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७ सय ६५ मतान्तरले पराजित गरे । नागेन्द्रले १८ हजार २ सय ५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएकी मधुमालाकुमारी यादवले १४ हजार
६ सय २२ मत प्राप्त गरिन् । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।
रौतहट–२ मा साहले कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५ सय ९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८ सय ४२ मत ल्याउँदा आलमले २८ हजार २ सय ४८ मत पाए । मुस्लिम बहुल उक्त क्षेत्रमा जित्ने मुस्लिम समुदायबाहिरका साह पहिलो उम्मेदवार हुन् । उनका प्रतिस्पर्धी आलम कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमका जेठा छोरा हुन् । लामो समय माओवादीमा राजनीति गरेका साह मधेसकेन्द्रित दल हुँदै केही समयअघि एमाले प्रवेश गरेका थिए । पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी क्षेत्र ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह समूहका हुन् ।
प्रभुले नै उनलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाएका हुन् । जसपाका शैलेन्द्र साहले भने २ हजार १ सय ४२ मत मात्रै पाए । एमालेका मधेस प्रदेश सदस्यसमेत रहेका शैलेन्द्रले जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । उनले अन्तिम समयमा किरणलाई समर्थन गरेका थिए । किरण ०७४ को संसदीय चुनावमा पूर्वमन्त्री आलमसँग १ हजार ५ सय ५५ मतले पराजित भएका थिए । रौतहट–३ मा साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २ सय ३७ मतान्तरले पराजित गरेका हुन् । साहले ०६४ देखि यही क्षेत्रबाट निरन्तर जित्दै आएका छन् । उनको यो चौथो जित हो । उनले ३२ हजार ४ सय ३७ मत पाउँदा जैसवालले २५ हजार २ सय मत ल्याएका थिए । एमालेका तत्कालीन स्थायी समिति सदस्य साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्ता गठबन्धनले साथ दिएको थियो तर साहका कार्यकर्ताले गठबन्धनले धोका दिएको आरोप लगाएका छन् । मधेस प्रदेशका आठ जिल्लामा जसपाको भागमा परेको प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १७ निर्वाचन क्षेत्रमा साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
बर्दिया–२ मा चौधरीले माओवादीका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरेका हुन् । उनले २६ हजार ५ सय २० मत पाउँदा पन्थ २६ हजार ३ सय ८४ मतमा रोकिएका थिए । लालवीर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बाबु हुन् । उक्त क्षेत्रमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा अदालतले दोषी ठहर्‍याएपछि कारागारमा रहेका पूर्वसांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर, उनको उम्मेदवारी खारेज हुन सक्ने जोखिम देखेपछि पार्टीले पहिले नै लालवीरको स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो ।

 

Page 2
समाचार

कलाकारलाई विश्वकप ज्वरो

- रीना मोक्तान

(काठमाडौं) - कतारमा विश्वकप–२०२२ फुटबल सुरु भएको शुक्रबार छैटौं दिन हो । खेल दोस्रो चरणमा पुग्यो तर सिनेकर्मी एवं राप्रपा नेता रेखा थापाका लागि अझै विश्वकप फुटबल सुरु भइसकेको छैन । रेखा पोर्चुगलकी समर्थक । पोर्चुगलले विश्वकप खेल्ने तयारी गरिरहँदा रेखा पनि मैदानमै व्यस्त भइन् । उनको मैदान भने चुनावको ।
मोरङ–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी रेखा चुनावी चटारोमा यति व्यस्त भइन् कि विश्वकपमा पोर्चुगलको खेलसमेत हेर्न भ्याइनन् । बिहीबार पोर्चुगलले घानालाई ३–२ ले पराजित गर्दैगर्दा बल्ल मोरङबाट काठमाडौं आइपुगिन् । जनमतका लागि निर्वाचन क्षेत्रमा घरदैलो गरिरहँदा उनका लागि विश्वकप ओझेलमै पर्‍यो । अब भने रेखा विश्वकपका खेलहरू हेर्दै रमाउने तयारीमा छिन् ।
‘अहिलेसम्म कुनै खेल हेर्नै पाएको छैन । खासमा मलाई अहिलेसम्म फुटबल लागेकै छैन । आज बेलुकीदेखि हेर्ने योजनामा छु, अब बल्ल फुर्सद पाएँ,’ रेखाले शुक्रबार भनिन् । विश्वकप कहिलेदेखि हेर्न थालिन्, उनलाई खासै सम्झना भने छैन । ‘फुटबल नबुझ्दा पनि हेर्थें, बुझ्दा पनि हेरिरहेकै छु । सायद १० वर्ष भयो पोर्चुगललाई समर्थन गर्न थालेको । पोर्चुगलको टिम नै राम्रो छ,’ उनले हाँस्दै भनिन् ।
त्यसो त गायिका एवं एमाले नेता कोमल वलीलाई पनि चुनावको ज्वरो उत्रिसकेको छैन । दाङ–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी वलीलाई भर्खरै कांग्रेसका दीपक गिरीले ७ हजार ८ सय ९० मतान्तरले पराजित गरे । मतगणना समाप्त भए पनि उनी अझै साथीभाइसँग चुनावी समीक्षामै छिन् । त्यससँगै बाँकीका समय विश्वकपका खेल हेर्न छुट्याइसकेकी छन् । ‘जनमत विपक्षी पार्टीलाई आयो । २९ हजार मत पाउनु मेरा लागि राम्रो हो । मतदाताहरूलाई धेरै दुःख लागेको रहेछ, त्यस्तै प्रतिक्रिया पाइरहेकी छु । पश्चिम दाङको समृद्धिका लागि हो मैले चुनाव लडेको । अब यो अभिभारा प्रतिपक्षी पार्टीलाई परेको छ,’ वलीले भनिन्, ‘लोकतन्त्रको सुन्दर अभ्यास नै निर्वाचन हो । निर्वाचनमा उत्रिसकेपछि परिणाम जित हुन सक्छ, हार पनि हुन सक्छ । म मानसिक रूपले यी दुवैका लागि तयार भएरै मैदानमा उत्रेकी हुँ । एकपटक फेरि चुनावको अनुभवलाई नजिकैबाट अनुभव गरें । धेरै कुरा सिकें ।’
उनी अर्जेन्टिनाकी समर्थक । जापान र एसियाली देशका खेलहरूलाई पनि विश्वकपमा समर्थन जनाउँदै आएकी । यो पटकको विश्वकप एसियाली मुलुकले जितेको हेर्न चाहन्छिन् । ‘मलाई त जसले राम्रो खेलिरहेको हुन्छ ती टिम पनि मन पर्छ । अहिले नयाँ टिमहरू पनि आइपुगेका होलान्, नयाँ टेक्निकमा खेलिरहेका होलान् । तर, मैले अझै विश्वकप हेर्न पाएकी छैन,’ उनले भनिन्, ‘वर्ल्डकप त यसपटक एसियाली मुलुकले लैजाओस् । म खेलप्रेमी नै हुँ । राष्ट्रिय खेलकुद जहाँ हुन्छ, त्यता गएर हेर्ने गरेकी छु । फुटबल त भौतिक उपस्थितिमा हेर्न रुचाउँछु ।’
सन् २००० देखि नै विश्वकपमा रमाउन थालेकी हुन् वली । त्यतिबेला विश्वकप हेर्दाको माहोल नै रोचक लाग्ने गरेको उनी सम्झन्छिन् । ‘अहिले त पहिलाको जस्तो फुटबल हेर्ने मज्जा छैन । पहिला फुटबल हेर्दा साथी–साथी एकै ठाउँमा जम्मा भएर वर्ल्डकप हेरिन्थ्यो । खानेकुरा मिलेर खान्थ्यौं । फरक टिमलाई समर्थन गर्दै आइरहेकाहरू पनि एउटै ठाउँमा बसेर हेरिन्थ्यो । पहिला खेल हेर्दा छुट्टै रमाइलो हुन्थ्यो,’ वली सुनाउँछिन्, ‘अहिले त एक्लैले हेर्ने समय आयो । मोबाइलमै पनि विश्वकप हेरिन्छ अहिले त ।’ वलीका परिवारका सबै फुटबलप्रेमी । त्यसैले पनि परिवारसँगै बसेर फुटबल हेर्ने योजना बनाइसकेकी छन् ।
अभिनेत्री बेनिशा हमालले भने २००२ को विश्वकपदेखि ब्राजिललाई समर्थन गर्न थालेकी हुन् । बुबा ब्राजिलकै समर्थक । बुबाले ब्राजिललाई समर्थन गरेको देखेरै उनी पनि समर्थक भइन् । त्यतिबेला रोनाल्डो र रोबर्टो कार्लोसको खेल उनलाई असाध्यै मनपर्ने । खासमा ब्राजिलको खेलबाटै बेनिशाका लागि यसपटकको विश्वकप सुरु भएको हो । शुक्रबारको ब्राजिलको खेल हेर्न १२ः४५ सम्म जाग्राम बसिन् । सर्वियालाई २–० ले हराउँदै ब्राजिलले जित हासिल गर्‍यो । हुन त बेनिशाले ३–१ को आकलन गरेकी थिइन् । ब्राजिलका कप्तान नेयमारले पनि गोल गर्लान् भन्ने सोचेकी थिइन् । तर, उनको अपेक्षा पूरा भएन । रिचार्लिसनकै दोस्रो गोलमै चित्त बुझाइन् । ‘नेयमारले एक गोल हाने पनि हुन्थ्यो भन्ने भयो । तर, रिचार्लिसनको दोस्रो गोल अमेजिङ थियो,’ उनले भनिन्, ‘खासमा पहिलो हाफसम्म मैले सर्वियाले गोल हान्दैन भन्ने सोचिसकेको थिएँ । उनीहरूमा गोल हान्ने भन्दा पनि ब्राजिललाई रोक्नुपर्छ भन्ने मानसिकता देखिन्थ्यो । त्यसैले दोस्रो हाफ आक्रामक खेल्नुपर्छ भन्ने सोचेको थिएँ । त्यस्तै खेल्यो ब्राजिलले ।’
आफूले समर्थन गर्दै आइरहेको टिमले नै विश्वकप जितोस् भन्ने सबैको कामना हुन्छ । बेनिशाको कामना पनि ब्राजिलकै लागि छ । भन्छिन्, ‘फ्यान हुनुका हिसाबले विश्वकप ब्राजिलले नै जितोस् भन्ने त हुन्छ नै । तर, यो पहिलो खेल हेरेर भन्न सकिँदैन । अरू खेल पनि हेर्दै जाउँ भन्ने हो ।’ बेनिशा विश्वकपलाई यसपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले छायामा पारिदिएको बताउँछिन् । ‘खासमा त अहिले विश्वकपको भन्दा चुनावकै चर्चा छ । अहिले युवाहरू नेतृत्वमा धेरै हुनुहुन्छ त्यसैले पनि गफिने बहाना मिलेको छ । जति पनि युवा नेतृत्व आएको छ, आशा पनि जगाइदिएको छ,’ उनले भनिन्, ‘यसअघिको निर्वाचनमा भोट हालिसकेपछि खासै कुरा हुन्थेन साथीबीच । तर, अहिले त संसद्मा युवाहरू पुगिसकेको दृश्य कस्तो हुन्छ होला भन्ने कुराले पनि खुल्दुली पैदा गराइदिएको छ ।’ यो पटकको विश्वकपले नयाँ टिमलाई कम आँक्न नहुने सन्देश देखाएको उनको विश्लेषण छ । ‘खासमा वर्ल्डकपमा मिल्ने साथीहरू पनि एकअर्कासँग लडिरहेका हुन्छन् । त्यसैले खेललाई खेलकै रूपमा लिन अनि साथीसँगको सुमधुर सम्बन्ध नबिगार्न अनुरोध गर्छु । साथै आफ्नो फ्रस्टेसन सामाजिक सञ्जालमा छरपस्ट नपारौं भन्न चाहन्छु,’ बेनिशाले भनिन् ।
तपाईंलाई चुनाव लागेको छ कि विश्वकप ? जवाफमा अभिनेता दीपकराज गिरी भन्छन्, ‘खासमा दुवै लागिरहेको छ । चुनाव लगभग सकियो । त्यसैले बिस्तारै फुटबलको ज्वरो लाग्दै छ ।’ सन् १९९० देखि नै दीपकराजले अर्जेन्टिनालाई समर्थन गर्दै आएका छन् । फुटबल टिमहरूप्रतिको समर्थनलाई उनी राजनीतिक पार्टीसँग दाँजेर हेर्छन् । भन्छन्, ‘खासमा एउटा पार्टीमा लागेपछि लागेको लाग्यै भनेजस्तै एउटा टिमलाई सपोर्ट गरेपछि सपोर्ट गरेको गर्‍यै हुने रहेछ । सायद त्यसैले होला, नेपालमा सबैभन्दा बढी अर्जेन्टिनाको फ्यान भएको । म पनि त्यही भीडमै पर्छु । एउटा टिम सपोर्ट गरिसकेपछि अर्को परिवर्तन गर्न सकिँदैन रहेछ ।’
जमाना थियो, टोलमा मुस्किलले एकाध घरमा
टेलिभिजन सेट हुन्थ्यो । विश्वकप हेर्छु भन्ने विकल्प सहज थिएन । खेलहरू अधिकांश राति हुने । अर्काका घरमा डराई–डराई विश्वकप हेर्दाका क्षण दीपकराजको सम्झनामा ताजै छ । ‘अर्काको घरमा विश्वकप हेर्न जाँदा परिवारका सदस्यहरू सुतिसक्नुभएको हुन्थ्यो । त्यस्तो बेलामा चुपचाप हेर्नुपर्ने हुन्थ्यो । एकअर्कालाई चुप गराउनुपर्थ्यो । गोलको खुसीयाली पनि चाहेजसरी मनाउन पाउँथेनौं,’ उनले सम्झिए, ‘जसको घरमा फुटबल हेर्न गएका छौं, त्यहाँ सुतेकाहरूले लाठी लिएर
लखेट्लान् भन्ने डर । डराई–डराई हेर्न गएका क्षण पनि थिए ।’ यसपटक साउदी अरेबियासँगको अर्जेन्टिनाको हारले उनलाई खासै सुर्ता लागेको छैन । ‘यहाँसम्म आइपुग्दा हामीमा एउटा परिपक्वता भइसकेको हुन्छ । परिपक्वताले हारलाई स्विकार्न सक्ने र जितमा धेरै उत्तेजित नहुने बानी बस्छ । १९९० देखि हार्दै नै आइरहेको छ नि अर्जेन्टिनाले । सुरुको हार पीडादायी हुन सक्छ, त्यसपछिको असफलताले पनि परिपक्व बनाउँदै लान्छ,’ उनले भने । अर्जेन्टिनापछि दीपकराजलाई मनपर्ने टिम इटाली हो । तर, यो पटक इटाली छनोटमै परेन ।
अभिनेत्री केकी अधिकारी विश्वकप र चुनावलाई महाउत्सवका रूपमा व्याख्या गर्छिन् । ‘मलाई अहिले दुई वटा महाउत्सव चलिरहेको जस्तो लाग्छ । पाँच वर्षमा हुने चुनाव र चार वर्षमा एकपटक हुने विश्वकप महाउत्सवजस्तै हो । खेलकुदले स्वतन्त्रता र एकताको कुरा गर्छ । निर्वाचनले देशको अवस्था र भविष्यको अड्कलबाजी गर्ने समय दिन्छ,’ उनले भनिन् ।
केकी अर्जेन्टिनाकी समर्थक । जबदेखि विश्वकपबारे थाहा पाइन्, उनी अर्जेन्टिनाकी समर्थक भइन् । खासमा होस्टल जीवनमा विद्यार्थीहरूबीच टिम छनोट गर्ने गोला प्रथा हुँदा उनको हातमा अर्जेन्टिना पर्‍यो । बाबा पनि अर्जेन्टिनाकै समर्थक । उनी यो पटकको विश्वकप मेसी र रोनाल्डोको पक्षमा हुनुपर्ने बताउँछिन् । ‘यसपटक पहिलो म्याचमै नसोचेको नतिजा आयो । तर, म आशावादी छु । अब २ वटा खेल जितेर अगाडि बढ्छ भन्नेमा आशावादी छु । तर यसबीच चार वर्षमा आफूलाई तयार गरेका समूहहरू मैदानमा देखिँदै छ,’ उनले भनिन्, ‘मेसीकै लागि पनि यो विश्वकप अन्तिमजस्तै हो । मेसीका लागि अर्जेन्टिना या त पोर्चुगलका लागि रोनाल्डोले जितेको देख्न चाहन्छु ।’ होस्टेलमा त्यतिबेला विश्वकप दसैं आएजस्तै हुन्थ्यो । उनीहरू श्यामश्वेत टीभीमा विश्वकप हेर्थे ।
गायक प्रमोद खरेल पनि अर्जेन्टिनाकै फ्यान हुन् । उनी यति खेलकुदप्रेमी हुन् कि कुनै क्लब र लिगका गेम हेर्न छुटाउँदैनन् । अर्जेन्टिनाको पहिलो हार गायक प्रमोद खरेलका लागि पनि अनपेक्षित नै थियो । ‘मलाई आशा छ, अर्जेन्टिनाले अर्को खेल राम्रो खेल्छ । मेसी र रोनाल्डोबिनाको वर्ल्डकप खल्लो नै हुन्छ,’ उनले भने, ‘त्यसैले उनीहरूले कमब्याक गर्नुपर्छ ।’ सन् १९९४ देखि उनले विश्वकप हेर्न थालेका हुन् । उनी ब्राजिलका समर्थक थिए पहिले । तर, मेसीपछि अर्जेन्टिनालाई रोजे । धेरैलाई थाहा नहुन सक्छ, अभिनेता सुनील थापा पूर्वफुटबलरसमेत हुन् । फुटबल खेल्न छाडेको धेरै समय भए पनि फुटबल हेर्न भने उनले छाडेका छैनन् । उनी विश्वकपको समयमा सुटिङ सेड्युल मिलाएरसमेत
इङ्ल्यान्डका खेल हेर्न छुटाउँदैनन् । २०१० तिर जब उनका पिताको निधन भयो, त्यो बेला १३ दिनको काममा बसेका बेला पनि फुटबल हेरेका छन् । पेलेको पालादेखि उनले विश्वकप हेर्न थालेका हुन् । ‘यसपटक अर्जेन्टिनाले झुर खेल्यो, त्यसैले हार्‍यो । जापान र जर्मनीले राम्रो खेल्यो । साउदी अरेबिया दोस्रो राउन्डमा नजान सक्छ,’ उनले विश्लेषण गरे, ‘इङ्ल्यान्डका लागि प्रतिस्पर्धा गर्ने टिम
कमजोर थियो ।’ उनी आफ्नै टिमले विश्वकप जितेको हेर्न चाहन्छन् ।

 

Page 3
समाचार

सत्ता गठबन्धन बहुमत ल्याउन असफल !

- कलेन्द्र सेजुवाल,बबिता शर्मा

(काठमाडौं) - दुई तिहाइको महत्त्वाकांक्षासहित निर्वाचनमा होमिएको सत्ता गठबन्धनलाई सामान्य बहुमत पुर्‍याउनै मुस्किल पर्ने भएको छ । प्रत्यक्षतर्फको परिणामले सत्ता गठबन्धन सफल हुन नसकेको देखाएको छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले १ सय ६५ निर्वाचन क्षेत्रमा सिट बाँडफाँट गरेर उम्मेदवार उठाएका थिए । शुक्रबारसम्मको परिणामअनुसार गठबन्धन दलले प्रत्यक्षतर्फ ७४ सिट जितेका छन् भने १२ मा अग्रता लिएका छन् । अग्रता लिएका सबै स्थान जित्दा पनि प्रत्यक्षतर्फ ८६ सिट मात्रै पुग्छ ।
माओवादीका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय कांग्रेसबाट धोका भएको बताउँछन् । ‘गठबन्धन रणनीतिक उद्देश्यमा आधारित थियो, मत परिणाम पूर्ण रूपमा आएपछि गठबन्धनभित्र समीक्षा होला,’ उनले भने, ‘तर स्थानीय तह निर्वाचनमा भन्दा अहिले कांग्रेसबाट धोका भएको हामीले महसुस गरेका छौं ।’ गठबन्धन दलले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि धोका भएको आरोप–प्रत्यारोप हुन थालेको छ । विशेषगरी माओवादी नेता–कार्यकर्ताले कांग्रेसबाट धोका भएको बताउन थालेका छन् । कांग्रेसमा भने सत्ता साझेदार दलबाट भन्दा पनि आफ्नै पार्टीभित्र घात भएको आरोप सुनिन थालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको शेखर कोइराला पक्षले माओवादीलाई मतदान नगर्न आफ्ना मतदातालाई गोप्य रूपमा भनेको निकट नेतासँग बताएका छन् । उनले कांग्रेस संस्थापन पक्ष बलियो रहेका ठाउँमा गठबन्धन सफल भएको तर कोइराला पक्षको प्रभाव रहेका क्षेत्रमा असफल भएको निष्कर्ष निकालेका छन् । माओवादीले आफ्नो भागमा परेको रूपन्देही–१ मा घनश्याम भुसाल र रौतहट–३ मा प्रभु साहलाई समर्थन गरेको थियो । भुसाल र साहसहित माओवादीले ४५ उम्मेदवार उठाएको थियो । तीमध्ये १५ जनाले जितेका छन् भने ३ जनाले अग्रता लिइरहेका छन् । अग्रता लिएका सबै स्थानमा जित्दा पनि माओवादीले प्रत्यक्षतर्फ १८ सिट मात्र जित्नेछ । यो संख्या २०७४ को निर्वाचनमा जितेको भन्दा आधा हो । एमालेसँगको गठबन्धनबाट त्यतिबेला माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो ।
२०७४ मा वाम गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेसले यस पटक सिट संख्या उल्लेख्य बढाए पनि गठबन्धनका बलमा जति जित्नुपर्ने हो, त्यसमा सफलता पाउन सकेन । कांग्रेसले ४५ सिट जित्नुका साथै ९ स्थानमा अग्रता लिइरहेको छ । अग्रता लिएका सबै सिट जित्दा यो संख्या ५३ पुग्नेछ । गठबन्धनको समर्थनमा ९० सिटमा उम्मेदवार उठाएको कांग्रेसले कम्तीमा ६५ सिटमा सहजै जित्ने आकलन गरेको थियो ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठ अनुमान गरेजति जित्न नसक्नुमा पार्टीभित्रको आन्तरिक समस्या (अन्तर्घात) प्रमुख कारक रहेको बताउँछन् । ‘गठबन्धनका सहयात्री दलहरूले कांग्रेस उम्मेदवारलाई सक्दो सहयोग गर्नुभयो तर हाम्रो पार्टीभित्रै घात हुँदा कतिपय साथीले हार्नुपर्‍यो,’ उनले भने, ‘एकआपसमा राम्रो सहयोग नहुँदा र अनुशासनहीन प्रवृत्ति मौलाउँदा कम्तीमा १० सिट गुमेको हामीले प्रारम्भिक अनुमान गरेका छौं ।’
२०७४ को निर्वाचन र गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्नुको साटो पुरस्कृत गर्दा अनुशासनहीन काम मौलाएको उनले बताए ।
टिकट वितरणका क्रममा केही असन्तुष्टि रहे पनि पार्टीले निर्णय गरिसकेपछि एकमत भएर लाग्नुपर्नेमा योजनाबद्ध रूपमै पार्टीका उम्मेदवारलाई हराउने काम भएको उनको भनाइ छ ।
कांग्रेसभित्रको समस्याले गठबन्धनको दोस्रो ठूलो घटक माओवादीलाई पनि स्तब्ध बनाएको छ । माओवादीका अधिकांश उम्मेदवारले पराजय भोग्नुको प्रमुख कारण कांग्रेसको असहयोग रहेको बताएका छन् । कतिपय जिल्लामा नेतृत्वले रोक्न खोज्दा पनि कांग्रेस कार्यकर्ता खुलेआम माओवादीका उम्मेदवारलाई हराउन लागिपरेका थिए । जुम्लामा कांग्रेसको कोइराला समूहले दुइटै प्रदेशसभामा बागी उम्मेदवार उठाएको थियो भने प्रतिनिधिसभामा राप्रपालाई सहयोग गरेको थियो । यसले गर्दा स्थानीय तहमा करिब साढे ५ सय मत मात्र पाएको राप्रपाका ज्ञानबहादुर शाही माओवादीकी गोमा कुँवरलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा आफ्नै पार्टी (कांग्रेस) का प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गर्दै बागी उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
‘हामीले बागी उम्मेदवारलाई बसाल्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निकै प्रयत्न गर्‍यौं तर सफलता पाउन सकिएन,’ केन्द्रीय सदस्य कान्तिका सेजुवालले भनिन्, ‘पार्टीभित्र मौलाएको अनुशासनहीनताले जुम्लामा गठबन्धनले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।’ एक मात्र
निर्वाचन क्षेत्र रहेको जुम्लामा संघमा राप्रपाका शाही, प्रदेशसभा (१) मा बागी उम्मेदवार शाही र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका टेकराज पछाई निर्वाचित भएका छन् । रोकाया कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री हुन् ।
सत्ता गठबन्धनले सोचेअनुसार सफलता नपाउनुमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको उदय पनि कारक बनेको छ । गठबन्धन दलबाट टिकट नपाएका, गठबन्धनप्रति असन्तुष्ट रहेका र गठबन्धन दलका उम्मेदवारलाई मत दिन नचाहेका नेता–कार्यकर्ताले नयाँ दललाई रोजेका देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका ७ मध्ये ३/३ क्षेत्रमा माओवादी केन्द्र र एक स्थानमा एकीकृत समाजवादीका उम्मेदवार थिए ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले जितेका तीन स्थानमध्ये दुइटामा माओवादी केन्द्र र एउटामा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । नागरिक उन्मुक्ति पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले बर्दिया–२ मा माओवादीका सुरेश पन्थलाई पराजित गरेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक श्रेष्ठले गठबन्धनकै कतिपय नेता–कार्यकर्ताले बाहिर गठबन्धनको प्रचार गरे पनि भित्री रूपमा नयाँ दललाई सहयोग गरेको पाइएको बताए । ‘हाम्रो पार्टी र गठबन्धनभित्र गम्भीर समीक्षा हुने नै छ,’ उनले भने, ‘कांग्रेसको निर्वाचन अनुगमन समितिले पनि यसबारे आफ्नो प्रतिवेदन देला ।’
मध्यपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक अर्जुनबहादुर अयडी विगतमा परम्परागत दलहरूलाई मतदान गर्दै आएका मतदाताले गठबन्धन र ती दलप्रति असन्तुष्टिको कारण नयाँ दललाई भोट दिएको बताउँछन् । असन्तुष्ट मतदाताले नयाँ विकल्प खोजेकाले सत्ता गठबन्धनलाई धक्का लागेको उनको भनाइ छ । ‘असन्तुष्टिलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा जतिसुकै गठबन्धन गरे पनि जित्न सकिँदैन भन्ने सन्देश दिएको छ,’ उनले भने ।
गठबन्धन भए पनि माओवादी सुदूरपश्चिममा शून्य भएको छ । माओवादीले सुदूरपश्चिमका चार क्षेत्रमा उम्मेदवार उठाएको थियो । कञ्चनपुर–१ मा बिना मगर, कैलाली–२ भगतबहादुर बडुवाल, कैलाली–३ मा कृष्णकुमार चौधरी र बैतडीमा नरेन्द्रबहादुर कुँवर पराजित भएका छन् । कांग्रेसले भने उम्मेदवारी दिएको ९ मध्ये ७ क्षेत्रमा जितेको छ । कैलाली–१ मा कांग्रेसका रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग पराजित भएका छन् । बाजुरामा विवादका कारण दुईवटा मतदान केन्द्रमा निर्वाचन हुन सकेको छैन ।
कर्णालीमा सत्ता गठबन्धनले जुम्लाबाहेक अन्यत्र सफलता पाएको छ । प्रतिनिधिसभाका १२ मध्ये ९ क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मतगणना जारी रहेका मुगु र हुम्लामा पनि गठबन्धनकै उम्मेदवार जितनजिक छन् । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले कर्णालीको जुम्लाबाहेक अन्यत्र गठबन्धन सफल भएको बताए । ‘कर्णालीमा गठबन्धन दलका शीर्षस्थ नेताहरूको मिहिनेत र सुझबुझले गठबन्धनको भावनाअनुसार चुनावी प्रतिस्पर्धा भई राम्रो परिणाम आएको छ,’ उनले भने । मुख्यमन्त्री शाही हुम्लाको प्रदेशसभा (२) बाट एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै विजयी भएका छन् ।
प्रदेश १ मा कांग्रेसका १९ उम्मेदवार रहेकामा ४ जनाले जितेका छन्, ६ जना पराजित भए भने ९ स्थानको परिणाम आएको छैन । माओवादीले ७ स्थानमा उम्मेदवारी दिएकामा ३ मा जितेको छ । एकीकृत समाजवादीले २ स्थानमा उम्मेदवारी दिएकामा एउटामा हारेको छ, इलाम–१ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाल मतगणनामा पछाडि परेका छन् ।
मधेस प्रदेशमा कांग्रेसले १५ क्षेत्रमा उम्मेदवारी दिएकामा ५ मा जित निकालेको छ, ५ मा हार व्यहोरेको छ । पाँच क्षेत्रको परिणाम आउन बाँकी छ । माओवादीले पाएका ६ क्षेत्रमध्ये एउटामा जित र अर्को एकमा हार व्यहोरेको छ । माओवादीको कोटमा गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार प्रभु साहले जितेका छन् । यद्यपि उक्त क्षेत्रमा माओवादीकै उम्मेदवार रवीन्द्र पटेलले ८ हजार ४ सय ५८ मत ल्याएका छन् । एकीकृत समाजवादीले उम्मेदवारी दिएका ३ मध्ये २ सिटमा जितेको छ, एकमा पराजय व्यहोरेको छ । लोसपाले ८ जना उम्मेदवार उठाएकामा ३ ले मात्रै जितेका छन् ।
वाग्मती प्रदेशमा कांग्रेसले सन्तोषजनक नतिजा हात पारेको छ । १७ स्थानमा उम्मेदवारी दिएकामा ११ मा जितेको छ भने ४ वटामा पराजित भएको छ । दुईवटा क्षेत्रको नतिजा आएको छैन । माओवादीले १० क्षेत्रमा गठबन्धनबाट र एक क्षेत्रमा एकल उम्मेदवारी दिएकामा ३ क्षेत्रमा मात्रै जितेको छ । एकीकृत समाजवादीले चार क्षेत्रमा उम्मेदवारी दिएकामा एउटामा जितेको छ ।
गण्डकी प्रदेशमा पनि कांग्रेसले गठबन्धनका अन्य दलको तुलनामा सन्तोषजनक नतिजा पाएको छ । ११ स्थानमा उम्मेदवारी दिएकामा ८ मा जितेको छ । दुई स्थानमा हारेको छ, एक स्थानको नतिजा आउन बाँकी छ । त्यस्तै जनमोर्चाले एउटा क्षेत्रमा उम्मेदवारी दिएकामा जितेको छ । लुम्बिनी प्रदेशमा गठबन्धनले सोचेअनुसार नतिजा ल्याउन सकेन । कांग्रेसले १४ क्षेत्रमा उम्मेदवारी दिएकामा ५ मा जितेको छ, ६ मा हारेको छ । तीन क्षेत्रको परिणाम आइसकेको छैन ।
सत्ता गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा चुनावी रणनीति बनाउनु र उतिबेला आफ्नो दलका उम्मेदवारले पाएको सबै मत
आफ्नो पकेटको मत भएको भ्रममा पर्नुले पनि गठबन्धनलाई धक्का लागेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा अधिकांश क्षेत्रमा गठबन्धन अगाडि थियो । गठबन्धनले सोही मतका आधारमा आफ्ना उम्मेदवारले जित्ने प्रक्षेपण गरेको थियो ।
राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट स्थानीय तह निर्वाचन र संसदीय निर्वाचनको परिस्थिति फरक हुने भएकाले त्यसका आधारमा जित्ने आकलन गर्नु गलत
भएको बताउँछन् । ‘त्यति मात्र होइन, यो गठबन्धन स्थानीयस्तरको सहमतिबिनै केन्द्रीयस्तरमा ठूला नेताबीच बनेको थियो,’ उनले भने, ‘यसले गर्दा पनि गठबन्धन दलका कार्यकर्ताबीच एकआपसमा सहयोग हुन सकेन ।’ पार्टीका अधिकांश कार्यकर्ताले आफ्नो भावनाविपरीत गठबन्धन बनेकाले गठबन्धनभन्दा बाहिर मतदात गरेका हुन सक्ने उनले बताए ।

एकीकृत समाजवादी सन्तुष्ट
गठबन्धन गरेर सबैभन्दा फाइदा एकीकृत समाजवादीलाई भएको छ । एकीकृत समाजवादीले गठबन्धन पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ, जबकि उसका २० ठाउँमा मात्रै उम्मेदवार थिए । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मोटामोटी रूपमा गठबन्धन सफल भएको बताए । ‘गठबन्धन गरेपछि जुन खालको परिणाम आउला भन्ने अपेक्षा गरेका थियौं, त्यस्तो भएन,’ उनले भने, ‘कांग्रेस र माओवादीले पनि जति जित्नुपर्ने थियो, त्यो सकेनन् । त्यसैले सबै कोणबाट समीक्षा गर्नुपर्नेछ ।’
महासचिव भुसालका अनुसार कांग्रेसका उम्मेदवार भएका स्थानमा गठबन्धनका अन्य दलको भोट गएको तर कांग्रेसकै आन्तरिक विवादले उसलाई घाटा लागेको बताए । ‘कतिपय ठाउँमा कांग्रेसको आन्तरिक विवादले काम
गरेको छ, जसको कारण गठबन्धनका उम्मेदवारले हार्नुपर्‍यो,’ उनले भने, ‘गठबन्धनलाई कांग्रेसको एउटा पक्षले आधारभूत रूपमा सहयोग गरेन ।’ कांग्रेस महामन्त्री गगन थापा चुनाव लडेको क्षेत्रमै प्रदेशसभामा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएको उनले
दृष्टान्त सुनाए ।

प्रदेशमा पनि असफल
प्रदेशसभातर्फ पनि गठबन्धनले आशा गरेअनुसार सफलता पाउन सकेको छैन । सातवटै प्रदेशमा कांग्रेसका १ सय ७९ उम्मेदवार रहेकामा शुक्रबार रातिसम्म ९३ स्थानमा जितेको छ भने १२ स्थानमा अग्रता लिएको छ । माओवादीले १ सय १२ उम्मेदवारी दिएको थियो । तीमध्ये ४५ स्थानमा जितेको छ भने ५ मा उसका उम्मेदवार अगाडि छन् । त्यसैगरी एकीकृत समाजवादीले ६६ स्थानमा उम्मेदवार उठाएकामा १२ सिट जितेको छ, ३ वटामा अग्रता लिएको छ ।
सत्ता गठबन्धनले प्रत्यक्षतर्फ सोचेअनुसार सिट जित्न नसकेपछि मधेस र सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने अवस्था निर्माण भएको छ । यसले गर्दा सातवटै प्रदेशमा मिलीजुली सरकार बन्ने देखिएको छ ।


असफलताका कारण ः
ि पकेटको भोट भन्ने भ्रम
ि कांग्रेसभित्रको अन्तर्घात
ि नयाँ दलप्रतिको आकर्षण
ि स्थानीय निर्वाचनको आधारमा
बनाएको रणनीति निष्प्रभावी

Page 4
वाग्मती प्रदेश

३१ वर्षदेखि अविजित नेमकिपा

- कान्तिपुर संवाददाता

(भक्तपुर) - क्तपुरको निर्वाचन क्षेत्र–१ मा यसपल्ट पनि नेपाल मजदुर किसान पार्टीले फराकिलो मतान्तरसहित जित हात पार्‍यो । २०४८ यताका सबै निर्वाचनमा यो क्षेत्रमा अन्य कुनै दलले नेमकिपालाई हराउन सफल भएका छैनन् । २०४८, २०५१, २०५६, २०६४ र २०७० मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले निरन्तर जिते । २०७४ र आसन्न निर्वाचनमा पनि नेमकिपाका सचिव प्रेम सुवाल चुनावी मैदानमा होमिए र पार्टीको विरासतलाई कायम राख्न सफल भएका हुन् ।
सुवालको मत उनका निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै तेब्बरले बढी छ । साथै, अन्य प्रतिस्पर्धीले पाएको सबै मत जोड्दा पनि सुवालले पाएको मत बराबर पुग्दैन । सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गर्दा एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत मात्रै पाए । राप्रपाका भरतबहादुर खड्कालाई ९ हजार ३ सय ३ मत र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुनील गोठेलाई ५ हजार २ सय ८३ मत मिल्यो ।
सुवाल यही क्षेत्रबाट २०७४ मा पनि सांसद चुनिएका थिए । त्यसबेलाको भन्दा अहिले उनको पक्षको मत करिब १० हजारले बढेको छ । त्यसबेला ३३ हजार ७६ मतसहित उनले कांग्रेसका बाबुराजा जोशी (१७ हजार ८ सय १८ मत) लाई हराएका थिए । ठूला भनिएका दलको कार्यशैलीलाई लिएर देशव्यापी रूपमै मतदाताको वितृष्णा देखिएकामा नेमकिपाले भने यो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सफल भएको हो । १ लाख २ हजार ५ सय २८ मतदाता रहेको यो क्षेत्रमा यसपल्ट ७४ हजार १९ मत खसेको थियो ।
प्रदेशसभातर्फ भने नेमकिपा र कांग्रेसले एक–एक स्थानमा जित हात पारेका छन् । भक्तपुर–१ (१) मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुरेश श्रेष्ठ ९ हजार ४ सय २४ मतसहित विजयी भए । एमालेका मोहनवीर श्रेष्ठ ८ हजार २ सय १२ मत पाउँदै दोस्रो स्थानमा रहे । तेस्रो भएका नेमकिपाका मीन बाटाको मत मोहनवीरको भन्दा ११ मतले मात्रै कम छ । २०७४ को निर्वाचनमा यो क्षेत्रमा एमालेका हरिशरण लामिछाने विजयी भएका थिए । लामिछानेको मृत्युपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका थिए ।
त्यसैगरी, क्षेत्र–१ (२) मा नेमकिपाका सुरेन्द्रराज गोसार्इं २६ हजार ५ सय ४३ मतान्तरसहित पुनः निर्वाचित भएका छन् । गोसाईंले २९ हजार ७ सय ४ मत प्राप्त गर्दा कांग्रेसका पवन भुजुले ३ हजार १ सय ६१ मत मात्र पाउन सके । गत निर्वाचनमा गोसार्इंले २३ हजार ८ सय ८५ मत प्राप्त गर्दै वाग्मती प्रदेशसभा सदस्य बनेका थिए ।

भक्तपुर–२ मा कांग्रेसको पुनरागमन
भक्तपुर–२ एमालेका महेश बस्नेतलाई पराजित गर्दै
सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको
यो क्षेत्रमा थापाले ९ सय ५७ मतान्तर राख्दै जित निकालेका हुन् । थापाले २४ हजार २ सय ३९ मत प्राप्त गर्दा बस्नेतको पोल्टामा २३ हजार २ सय ८२ मत परेको हो । यसैगरी, नेमकिपाकी अनुराधा थापामगरले ७ हजार १ सय २७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४ हजार ९८ र राप्रपाका मोहन केसीले २ हजार ५ सय ६९ मत पाएका छन् ।
गत निर्वाचनमा भारी मतान्तरले पराजित कांग्रेस यसपटक पुनरागमन गर्न सफल भएको हो । २०७४ मा कांग्रेसका दमननाथ ढुंगानालाई वाम गठबन्धनका उम्मेदवार रहेका एमालेका बस्नेतले १७ हजार ७ सय
२५ मतान्तरले हराएका थिए । त्यसेबला बस्नेतले
३६ हजार ४ सय १२ र ढुंगानाले १८ हजार ६ सय ८७ मत ल्याएका थिए ।
२०४६ मा बहुदल स्थापनापछि भएकामध्ये गत निर्वाचनबाहेक यो क्षेत्रमा कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका थिए । २०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ मा पुनः कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनील प्रजापति,
२०७० मा कांग्रेसका रामेश्वर ढुंगेल विजयी भएका थिए । कुल ९१ हजार ९ सय ११ मतदाता रहेको यो क्षेत्रमा ६५ हजार ९ सय १९ मत खसेको थियो । २ हजार ५३ मत बदर भएको थियो ।
प्रदेशसभातर्फ भने एमाले र एकीकृत समाजवादी विजयी भएका छन् । क्षेत्र–२ (१) मा एमालेका किरण थापा मगर र २ (२) मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका हुन् ।
थापाले कांग्रेसका विष्णुराज कार्कीलाई ३ हजार ३ सय ७ मतान्तरले पछि पारे । थापाले १५ हजार २ सय ४२ मत पाउँदा कार्कीले ११ हजार ९ सय ३५ मात्रै मत पाए । २०७४ को स्थानीय निर्वाचनमा कार्की एमालेका वासुदेव थापासँग सूर्यविनायक नगर प्रमुखमा पराजित भएका थिए भने थापा सूर्यविनायक–८ मा वडाध्यक्ष चुनिएका थिए । क्षेत्र–२ (२) मा विजयी राजेन्द्रमान दोस्रो पटक सांसद चुनिएका हुन् । राजेन्द्रमानले एमालेका चन्दनकृष्ण श्रेष्ठलाई ३ सय १० मतान्तरले पराजित गरे । राजेन्द्रमानले ८ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने चन्दनकृष्णले ८ हजार ३१ मत पाए । नेमकिपाका रमेश वैद्यले ६ हजार ८ सय ३१ मत पाउँदै तेस्रो स्थानमा रहे ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनतर्फबाट एमालेका उम्मेदवार रहेका राजेन्द्रमानले १४ हजार २ सय २९ मत प्राप्त गरी कांग्रेसका गणेशमान चक्रधरलाई पराजित गरेका थिए । चक्रधरले ११ हजार ५ सय ३८ मत ल्याएका थिए ।

वाग्मती प्रदेश

सिन्धुली र सिन्धुपाल्चोकमा गठबन्धनको ‘क्लिन स्विप’

- राजकुमार कार्की,अनिश तिवारी

(सिन्धुली/सिन्धुपाल्चोक) - सिन्धुली र सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख प्रतिस्पर्धी एमालेलाई पछि पार्दै प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ कांग्रेस र माओवादीले जित हात पारेका हुन् ।
सिन्धुली क्षेत्र–१ मा कांग्रेसका श्यामकुमार घिमिरे ३० हजार ३ सय ९१ मत प्राप्त गर्दै विजयी भए । कांग्रेस केन्द्रीय सदस्य तथा लेखा समिति संयोजकसमेत रहेका उनी गत निर्वाचनमा प्रदेशसभातर्फ क्षेत्र–१ (२) मा एमालेका प्रदीप कटुवालसँग पराजित भएका थिए । यसपल्ट उनै कटुवाललाई पछि पार्दै उनी पहिलो पटक संघीय संसद् प्रवेश गर्ने भएका हुन् । कटुवालले २५ हजार ५ सय ४६ मत मात्रै प्राप्त गरे ।
क्षेत्र–२ मा माओवादीका उम्मेदवार लेखनाथ दाहालले २७ हजार ५ सय १७ मतसहित संसद्को सिट सुरक्षित गरे । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा सिन्धुली–१ मा उनी पराजित भएका थिए । २०७४ मा भने क्षेत्र–१ (१) मा वाम गठबन्धनबाट उम्मेदवार भई उनी प्रदेशसभा सदस्य चुनिएका थिए । प्रतिनिधिसभामा उनको पनि यो पहिलो यात्रा हो । लगातार २ पटक निर्वाचन जितेका हरिबोल गजुरेललाई पछि पार्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको विश्वास जितेर टिकट हत्याएका थिए ।
प्रदेशसभातर्फ क्षेत्र–१ (१) मा पनि माओवादीकै मातृकाप्रसाद भट्टराई विजयी भए । क्षेत्र–१ (२) मा कांग्रेसका रामकुमार पहाडीले जितको झन्डा गाडे । पहाडी २०४९ मा तत्कालीन खाङसाङ गाविसको वडाध्यक्षमा निर्वाचित भएका थिए । यसपल्ट एमालेका कुमारबहादुर कार्कीलाई २ हजार २ सय २२ मतान्तरले पराजित गर्न उनी सफल भएका हुन् । क्षेत्र–२ (१) मा विजयी छेत्रबहादुर बम्जन निर्माण व्यवसायी पनि हुन् । एमालेका विनोदकुमार
खड्कालाई ५ हजार १ सय ५४ मतान्तरले पराजित गर्दै उनी पनि पहिलो पटक प्रदेश सांसद बनेका छन् । उनी २०७४ को निर्वाचनमा क्षेत्र–२ (२) मा माओवादीका बुद्धिमान माझीसँग पराजित भएका थिए । अहिले पनि क्षेत्र–२ (२) मा माओवादी नै विजयी भएको छ । माओवादीका गंगानारायण श्रेष्ठले १६ वर्षपछि संसदीय राजनीतिमा पुनरागमन गरेका छन् । उनी २०६३ को अन्तरिम संसद् सदस्य भएका थिए तर २०७० मा कांग्रेसका मोहन बरालसँग हार व्यहोरेका थिए । नेपाल समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका श्रेष्ठ अहिले माओवादीको चिह्नबाट चुनावी मैदानमा थिए । १३ हजार १ मत ल्याएर उनले एमालेका रामकुमार पौडेललाई पराजित गरेका हुन् ।
यसैबीच, सिन्धुपाल्चोक–२ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले पूर्वमन्त्रीसमेत रहेका एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरमा हराएका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा तामाङको पक्षमा २७ हजार ४ सय ९३ मत मात्रै गएको थियो । योसँगै जिल्लाका सबै क्षेत्रमा सत्ता गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ ।
नेता बस्नेत गठबन्धनको बलमा विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र (सिन्धुपाल्चोक–१) परिवर्तन गरेर चुनावी मैदानमा होमिएका थिए । २०७४ को निर्वाचनमा क्षेत्र–२ मा कांग्रेसले उम्मेदवारी नै दिएको थिएन । कांग्रेसको समर्थनमा उठेका राप्रपा पूर्वअध्यक्ष पशुपतिशमसेर राणा एमालेका तामाङसँगै पराजित भएका थिए । तामाङ २०७० मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तर, जितको ह्याट्रिक गर्ने दाउमा रहेका तामाङलाई यसपल्ट भने बस्नेतले रोकिदिएका हुन् । ‘यस क्षेत्रमा ६४ वर्षपछि कांग्रेसको कमब्याक भएको छ, यो स्थानीय मतदाताको मप्रतिको ठूलो विश्वास हो, प्रत्येक प्रतिबद्धता पुरा गर्न म लाग्नेछु,’ बस्नेतले भने ।
यसैगरी, क्षेत्र–१ मा माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी एमालेका सरेश नेपालले २७ हजार १८ मात्रै मत ल्याउन सके ।प्रदेशसभातर्फ माओवादीका युवराज दूलाल र सरल सहयात्री पौडेल तथा कांग्रेसका कृष्णबहादुर तामाङ र मसिना खड्का चुनिएका छन् ।

Page 5
अर्थ वाणिज्य

सुन्तलाबाट उत्साहित किसान, बढ्दै आम्दानी

- सम्झना रसाइली

 

(तनहुँ) - देवघाट गाउँपालिका–३ छिपछिपेका भीम राना बगैंचामा उत्पादित सुन्तला देखेर दंग छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष ठूला र पोटिला दाना फलेपछि उनी उत्साहित भएका हुन् । ७२ रोपनीमा सुन्तलाखेती गरेका रानाले अघिल्लो वर्ष २७ लाख रुपैयाँ आम्दानी लिएका थिए । अहिले भने करिब ३२ लाख रुपैयाँ भित्र्याउने उनको लक्ष्य छ ।
रानाका बुबाले ०२२ सालदेखि नै सुन्तला खेती थालेका थिए । त्यति बेला राम्रो बजार नपाएपछि रानाका बुबा र छिपछिपे क्षेत्रका धेरैजसो किसानले ०४६ सालमा सबै सुन्तलाका बोट फाँडेर मकै खेती पनि गरे । छिपछिपेबाट किसान साढे दुई घण्टा हिँडेर सुन्तला बिक्री गर्न जान्थे । ‘तर उचित मूल्य नपाएपछि सुन्तला खेतीबाट आशा मरेको थियो,’ रानाले भने, ‘०६८ सालमा यहाँ उत्पादित सुन्तला काठमाडौंको कालीमाटी बजार लग्ने वातावरण बनेपछि स्थानीय सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।’
यस क्षेत्रका धेरैजसो सुन्तला काठमाडौं लागिए पनि केही सुन्तला नारायणगढ, मुग्लिङ, दमौलीलगायत आसपासका बजार क्षेत्रमा पनि बिक्रीवितरण हुने गरेको राना बताउँछन् । ०६८ सालमा सुन्तला बिक्रीबाट १ हजार ७ सय रुपैयाँ आम्दानी भएको स्मरण गर्दै उनले भने, ‘सुन्तला बिक्री हुन थालेपछि बिरुवा पनि थपेँ । अहिले आम्दानी पनि बर्सेनि बढेको छ । यसपटक मौसमले साथ दिएकाले उत्पादन राम्रो भयो ।’
सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिएको व्यास नगरपालिका–१३ बेनीकोटका विकास थापा बताउँछन् । उनले २० रोपनीमा सुन्तला खेती गरेका छन् । ‘निर्वाहमुखी रहेको सुन्तला खेतीलाई व्यावसायिक रूपमै अगाडि बढ्दा राम्रो आम्दानी लिन सफल भएका छौं,’ उनले भने, ‘हामीले सुन्तलाको बगैंचा सबै ठेक्कामा दिन्छौं । अघिल्लो वर्ष ३ लाख ५० हजार रुपैयाँमा बेचिएको थियो । यस वर्ष भने ८ लाख रुपैयाँमा बेचेका छौं ।’
आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकका सोलबहादुर चितौरेले पनि यस वर्ष सुन्तला उत्पादन राम्रो भएको जनाए । ‘समयमै पानी पर्नाले सुन्तलाको बोटले आवश्यक सिँचाइ पायो,’ उनले भने, ‘मौसमले साथ दिएकाले नै अहिले सुन्तलाका दाना पनि ठूला छन् । मैले त बगैंचा नै ३ लाख ५० हजार रुपैयाँमा ठेक्कामा दिइसकें ।’
चितौरेले करिब ४ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अघिल्लो वर्ष २ लाख ८० हजार रुपैयाँ आम्दानी भएको बताउने उनी अहिले उत्पादन राम्रो भएसँगै सुन्तलाको मूल्य
बढ्दा खुसी छन् । मौसमको साथ र स्याहारसुसार गरी समयमै मलजल गर्दा फल राम्रो लागेको व्यास नगरपालिका–१३ बेनीकोटका खेमबहादुर रानाको भनाइ छ । ‘असिना नपरेकाले पनि सुन्तला बचे । अहिले सुन्तलाका दाना ठूला भएकाले किसानले मागेको रकम दिएर व्यापारीले किनिरहेका छन्,’ उनले भने ।
‘बेनीकोटमा सुन्तलाको उत्पादन राम्रो छ तर यसपटक अझै बढी उत्पादन भएको छ,’ चितौरेले भने, ‘पहिलाको तुलनामा अहिले किसान सचेत छन् । उनीहरूले सुन्तलाका बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसार गरिरहेका छन् । मलजल गर्ने र समयमै पानी पुर्‍याई गोडमेल गर्दा आम्दानी पनि राम्रै लिन सफल भएका छन् ।’ यस वर्ष जिल्लामा सुन्तलाको उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ,’उनले भने ।
दक्षिण मोडा फर्किएको क्षेत्रमा सुन्तला उत्पादन राम्रो नभएको र बोट पनि सुक्दै गएको तिवारीको भनाइ छ । तर उत्तरतर्फको मोहडामा रहेका बगैंचामा सुन्तला उत्पादन राम्रो छ । १ हजार ४ सय ८० हेक्टरमा ९ हजार ५ सय १० टन सुन्तला उत्पादन भएको उनले जनाए । यस पटक करिब २८ करोड रुपैयाँको सुन्तला बिक्री हुने केन्द्रको अनुमान छ ।
अघिल्लो आर्थिक वर्षमा १ हजार ४ सय ६० हेक्टर क्षेत्रफलबाट ९ हजार ३ सय १० टन सुन्तला उत्पादन भएको थियो । उत्पादित सुन्तला बिक्रीबाट जिल्लामा २६ करोड ५० लाख रुपैयाँ भित्रिएको थियो ।
जिल्लामा शुक्लागण्डकीको राइपुर, व्यास नगरपालिकाको तनहुँसुर, बेनीकोट, देवघाट गाउँपालिकाको छिपछिपे, बैदी, कोट र भिमाद नगरपालिकाको भानुमतिलगायत क्षेत्रलाई सुन्तला खेतीको पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौंबाट आउने ठेकेदारले राम्रो मूल्य दिएर किन्ने गरेका छन् ।

अर्थ वाणिज्य

मुद्दामै रुमलिइरह्यो द्रुतमार्ग

- विमल खतिवडा

(काठमाडौं) - काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को ६ नम्बर प्याकेजमा ठेक्का सम्झौता नगराउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको भन्दै निर्णय बदरको माग गर्दै भारतीय निर्माण कम्पनी अफकन्स इन्फ्रास्ट्रक्चर लिमिटेडले मुद्दा दायर गरेको हो । कम्पनीका तर्फबाट बिहीबार अधिवक्ता सुजन रिजालले मुद्दा दायर गरेका छन् ।
‘आयोजनाबाट ठेक्का पाउने कम्पनीलाई लेटर अफ इन्टेन दिइएको छ, त्यो बदर गरिपाऊँ भनेर उजुरी गरेका हौं,’ उनले भने, ‘अन्तरिम आदेश माग गरिएकाले ठेक्का जे जस्तो अवस्थामा छ, त्यहीं रोकिनुपर्छ ।’ मुद्दामा सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, सार्वजनिक खरिद पुनरावलोकन समिति, फास्ट ट्र्याक सडक आयोजना, चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड र नेपाली सेनालाई प्रतिवादी बनाइएको छ । नेपाली सेनाले भने यसबारे कुनै जानकारी नआएको जनाएको छ । ‘अहिलेसम्म हामीलाई केही जानकारी आएको छैन,’ सेनाका प्रवक्ता नारायण सिलवालले भने ।
वित्तीय प्रस्ताव मूल्यांकनमा सहभागी नगराएपछि चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीले नेपाली सेनाविरुद्ध गत भदौ अन्तिममा सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा हालेको थियो । उक्त मुद्दामा समितिले छानबिन गरी आर्थिक प्रस्तावमा सहभागी गराउन भन्दै आदेश दिएको थियो । त्यही आदेशअनुसार गत कात्तिक ६ मा आर्थिक प्रस्ताव खोल्नेबारे चाइना फस्ट हाइवेसहित प्रतिस्पर्धामा सहभागी कम्पनीलाई आयोजनाले चिठी पठाएको थियो । यसअनुसार कात्तिक २१ मा आर्थिक प्रस्ताव खोलिएको थियो । समय थोरै राखेर आर्थिक प्रस्ताव खोल्नु गलत भएको भन्दै प्रतिस्पर्धामा सहभागी कम्पनीले विरोध गरेका छन् ।
चाइना फस्ट हाइवेले कम्पनीले आर्थिक प्रस्ताव मूल्यांकनमा सहभागी नगराउनुको कारण माग गर्दा आयोजनाले जवाफमा स्वार्थ बाझिएको भन्दै सहभागी गराउन नसकिने उल्लेख गरेको थियो । पटकपटक जवाफ माग्दा आयोजनाले स्वार्थ बाझिने विषयलाई मात्र अघि सारेपछि चाइना फस्ट हाइवेले वित्तीय प्रस्ताव खोल्ने प्रक्रियामा सहभागी नगराउँदा अन्याय भएको र प्रतिस्पर्धा खुम्चने भन्दै प्रस्ताव खोल्ने प्रक्रियामा सहभागी गराउने आदेश माग गर्दै समितिमा मुद्दा दायर गरेको थियो । समितिले असोज अन्तिममा गरेको आदेशपछि सेनाले उक्त कम्पनीलाई आर्थिक मूल्यांकनमा सहभागी गराएको हो । प्रतिस्पर्धामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ, अफकन्स इन्फ्रास्ट्रक्चर लिमिटेड, पोली चङ्दा इन्जिनियरिङ कम्पनी, सीओभीईसी–सीआरईजीसी जोइन्ट भेन्चर र सिनो हाइड्रो पीसीसीडी जेभी हुन् ।
खरिद नियमअनुसार सबैभन्दा कम आर्थिक प्रस्ताव पेस गर्ने कम्पनीले ठेक्का पाउँछ । यस ठेक्कामा सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्नेमा चाइना फस्ट हाइवे छ । चाइना फस्ट हाइवेसहित प्रतिस्पर्धामा सहभागी ६ कम्पनीमध्ये यो कम्पनीले १८ अर्ब ८ करोड ६ लाख आर्थिक प्रस्ताव पेस गरेको छ । ‘सार्वजनिक खरिद पुनरावलोकन समितिमा ६ करोड १५ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी राखेर मुद्दा जितेर आएका हौं,’ चाइना फस्ट हाइवे कम्पनी स्रोतले भन्यो, ‘नियमले कम आर्थिक प्रस्ताव पेस गर्नेले ठेक्का पाउने व्यवस्था छ ।’ जस अनुसार प्रस्तिपर्धामा सहभागी हुने कम्पनीहरूमा अफकन्स इन्फ्रास्ट्रक्चर लिमिटेडले १९ अर्ब ९९ करोड ४९ लाख, सीओभीईसी–सीआरईजीसी जोइन्ट भेन्चर २० अर्ब ४६ करोड ८५ लाख, सिनो हाइड्रो पीसीसीडी जेभी २२ अर्ब १६ करोड ८३ लाख, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले २७ अर्ब ५८ करेड १ लाख र पोली चङ्दा इन्जिनियरिङ कम्पनीले ४२ अर्ब ८ करोड १३ लाख रुपैयाँ आर्थिक प्रस्ताव पेस गरेका थिए ।

 

अर्थ वाणिज्य

१० हजार टन युरिया भित्रियो

- कान्तिपुर संवाददाता

 

पर्सा (कास)– कृषि सामग्री कम्पनीले ल्याएको १० हजार टन युरिया मल आइपुगेको छ । २ हजार ५ सय टन मल बोकेको एउटा रेलवे र्‍याक बिहीबार वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेलवे स्टेसन आइपुगेको हो ।
भारतको विशाखापट्टनम बन्दरगाह हुँदै रक्सौल रेलवे स्टेसनसम्म कम्पनीको युरिया मल आइपुगेको कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जनाए । त्यहाँबाट ढुवानी गरी कम्पनीको वीरगन्जस्थित विभिन्न गोदाममा मल भण्डारण गर्ने गरिएको छ । हालसम्म चार र्‍याकमा १० हजार टन युरिया मल आइसकेको र निरन्तर यसै गतिमा आइरहे आउँदो डेढ साताभित्र सबै मल भित्रिसक्ने उनले बताए । भारतको आईपीएल कम्पनीले ग्लोबल टेन्डरबाट कम्पनीको ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको हो । उसले ओमानबाट खरिद गरी उक्त मल नेपाल ल्याएको हो । ३० हजार टन मलमध्ये २० हजार वीरगन्ज आउने र बाँकी १० हजार टन मल भैरहवा जाने बताइएको छ । त्यताको मल आईपीएलले भैरहवातर्फको भारतीय नाकामा रेलबाटै पुर्‍याइरहेको छ । कम्पनीको विराटनगर प्रादेशिक कार्यालयले पाउने ७ हजार ५ सय टन मल वीरगन्जबाट ढुवानी गरी त्यसतर्फ लगिनेछ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको युरिया मल माग भएका जिल्लामा परिचालनसमेत भइरहेको कुमारले जनाए ।
हालसम्म सिन्धुली, काठमाडौं, धुलिखेल, त्रिशूली, चन्द्रपुर, नवलपुर, गजुरी, ढल्केवर, कलैया र पर्वत कार्यालयमा गरी १ हजार १८ टन मल परिचालन भइसकेको उनले बताए । तीन र्‍याक मल रक्सौलबाट वीरगन्ज ल्याइसकिएको र अब चौथो र्‍याकमा आएको मलको प्रयोगशाला परीक्षणपछि उक्त मल पनि ल्याइने कुमारको भनाइ छ । गहुँबालीका लागि युरिया मलको माग आउन थालेकाले निर्धारित कोटाबमोजिम मल परिचालन गरिने उनले जनाए ।

 

अर्थ वाणिज्य

विश्वकपकै बेला छैन टीभी व्यापारमा उत्साह

- कान्तिपुर संवाददाता

(काठमाडौं) - दसैंतिहारलगायत चाडपर्वमा जस्तै विश्वकप पनि टीभी व्यापारीका लागि सिजन हो । तर यस वर्षको फिफा विश्वकपका लागि त्यति टीभीको व्यवसाय उत्साहजनक छैन ।
काठमाडौंको जडीबुटीका कृष्ण महर्जन गत केही दिनअघि टीभी किन्न महाबौद्ध पुगेका थिए । उनी २० हजार रुपैयाँमा पाइने भारतीय कम्पनीका टीभी हेर्दै थिए । तर उनले भने जस्ता टीभी बजारमा नपाएको सुनाए । भारतीय कम्पनीको ‘इन्टेक्स’ ब्रान्डको टीभी मन पराए पनि त्यसको मूल्य २५ हजार ५ सय रुपैयाँ भनेपछि महर्जन हच्किए । अर्जेन्टिनाका समर्थक महर्जनले टीभीमा घरपरिवारसँग विश्वकप हेर्ने उद्देश्यले बजार आएको बताए ।
विश्वकप नजिकिएसँगै टीभी किन्न आउनेको संख्या बढेको महाबौद्धस्थित अग्लेश्वरी महादेवका सञ्चालक सुरज श्रेष्ठले सुनाए । ‘दसैंतिहारपछि विश्वकपले गर्दा टीभी हेर्न आउने मान्छे बढेका छन्,’ उनले भने, ‘तर कतिले हेरेर मात्र जान्छन्, खरिद गर्ने कमै छन् ।’ अग्लेश्वरीमा एलजी, सामसङ, सोनी, इन्टेक्सलगायत ब्रान्डका टीभीसहित अन्य विद्युतीय सामग्री छन् । पहिलाको तुलनामा यस वर्षको विश्वकपका बेला ग्राहक कम नै आएको उनको भनाइ छ । हिजोआज दिनको ५/७ वटा मात्रै टीभी बिक्री भएको उनले जनाए । विश्वकपकै लागि टीभी खरिद गन आउनेले स्क्रिन हेरेर न्यूनतम ३० हजारदेखि ५० हजार रुपैयाँसम्मका रोज्ने गरेको उनको भनाइ छ ।
चार वर्षको अन्तरालमा हुने विश्वकपका लागि टीभीको व्यापार उत्साहजनक नरहेको व्यापारीहरू बताउँछन् । महाबौद्धकै थोक तथा खुद्रा व्यापारी रमेशकुमार श्रेष्ठले पनि विश्वकपले टीभीको व्यापारलाई खासै प्रभाव नपारेको दाबी गरे । पहिला विश्वकप आउनु एक साताअघिदेखि नै पसलमा थामिनसक्नु भीड हुने गर्थ्यो । तर यस वर्ष सुनसान रहेको उनले सुनाए । ‘अघिल्लो विश्वकपमा होलसेल र खुद्रा गरेर दिनकै ५० वटा टीभी पनि बेच्थ्यौं, अहिले दिनको १० वटा बेच्न नि गाह्रो भो,’ उनले भने, ‘व्यापार हुने सिजनमै सुनसान छ ।’ ब्रान्ड खोज्नेले सोनी, सामसङ, एलजीलगायत महँगा टीभी रोजे पनि सस्तो खोज्नेका लागि सीजी र यासुदाका टीभी रहेको उनको भनाइ छ । पहिला निःशुल्क रूपमा हेर्न पाइने विश्वकप यस पटक सशुल्क भएकाले पनि टीभी खरिदमा उत्साह नदेखिएको ललितपुरको कुमारीपाटीस्थित इलेक्ट्रोनिक जोनका सञ्चालक मनोज शर्माले बताए । विश्वकप सशुल्क भएकै कारण सिजनमै समर्थकले टीभी खरिदमा चासो नदेखाएको उनको भनाइ छ । ‘विश्वकपमा सबै खेल हेरिँदैन, केही देशका खेललाई मात्र पछ्याउने हो, अझ कतिले त फाइनल मात्र हेर्छन्,’ उनले भने । चार वर्षअघिको तुलनामा अहिले १५ प्रतिशत मात्र व्यापार भइरहेको उनले जनाए ।
बजारमा व्यापार नभएकै कारण टीभीको अभाव खड्किएको छैन । सरकारले ३२ इन्चभन्दा माथिका टीभी आयातमा रोक लगाएको थियो । सरकारले वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गरी टीभी, मदिरा, तास, मोबाइललगायत १० वस्तु आयात बन्देज गर्ने निर्णय गरेको थियो । पछि भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ प्रकार (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज) वस्तुको प्रतिबन्ध फुकुवा गरेको थियो । यद्यपि चार वस्तुको प्रतिबन्ध भने यथावत् राख्ने निर्णय गरेको थियो । यद्यपि बजारमा अभाव नभए पनि आयात भने कम भएको छ ।
चालु आर्थिक वर्षको साउन–भदौ–असोजमा ५७ करोड ३२ लाख ६९ हजार रुपैयाँ बराबरको ३३ हजार ६३ वटा टीभी आयात भएका छन् । गत वर्षको सोही अवधिमा ७४ करोड २७ लाख ४२ हजार रुपैयाँ बराबरका ४४ हजार २२७ वटा टीभी आएका थिए । गत आर्थिक वर्षमा भने ३ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ बराबरका १ लाख ६५ हजार १५२ वटा टीभी आयात भएका थिए ।

कम्पनीहरूको अफर
विश्वकपलाई लक्ष्य गरी विभिन्न कम्पनीले नयाँ टीभीसँगै विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । यसैअन्तर्गत स्काइवर्थले क्यूएलईडी प्लस गुगल टीभी सार्वजनिक गरेको छ । स्काइवर्थका लागि नेपालको आधिकारिक विक्रेता केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले विश्वकपलाई लक्ष्य गरी ‘स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम’ स्किम ल्याएको छ । यसअन्तर्गत उपभोक्ताले स्काइवर्थ ब्रान्डका टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने जनाएको छ ।
एलजी ब्रान्डको आधिकारिक विक्रेता सीजी इम्पेक्सले विश्वकपलाई लक्षित गरी यूक्यू सिरिजका यूएचडी टीभी नेपाली बजारमा ल्याएको छ । एलजीको यूएचडी श्रेणीमा ४३, ५०, ५५, ६५, ७५ र ८६ इन्चका टीभी बजारमा आएका छन् ।

Page 6
अर्थ वाणिज्य

फेक आईडीको पछि लाग्दा

- रूपा गहतराज

(नेपालगन्ज) - मोबाइलको लतमा परेका १३ वर्षीय छोरा घरबाट बाहिर मुस्किलले निस्कन्थे । मोबाइलमा ‘गेम’ खेल्दै समय कटाउँथे । बाहिर हतपत्त ननिस्कने छोरा एकाएक सम्पर्कविहीन भए । बिहानै घरबाट निस्किएका उनी रात परे पनि फर्किएनन् । अभिभावक अत्तालिए, खोजी सुरु भयो । समय कट्दै गयो । पत्तो लागेन । छोराको अत्तोपत्तो नलागेपछि अभिभावक र आफन्त पिरोलिए । नाता र आफन्तजनकहाँ खबर गरे । पत्ता नलागेपछि परिवारले अपहरणको आशंका गरे । कतैबाट केही खबर आएन । परिवारले प्रहरीको सहारा लिन उचित ठानेन ।
परिवार अनि आफन्त भनसुनमा व्यस्त भए । गाईगुईं फिँजियो ।
प्रहरीले घटनाको सुइँको पाएपछि अनुसन्धान बढायो । २३ दिनदेखि हराएका यहाँका १३ वर्षीय एक बालकको गत बुधबार रुपैडियाबाट उद्धार गरियो । ‘हामीले आशा नै मारेको छोरो प्रहरीले गर्दा भेटियो,’ बिहीबार छोरा भेटेपछि गहभरि आँसु पार्दै आमाले भनिन्, ‘उसलाई के–के भयो, हामीले केही सोध्न पनि सकेका छैनौं ।’ छोरा हराएपछि आमा निदाउन सकेकी थिइनन् । ‘आँखाभरि छोराको तस्बिर आइरहन्थ्यो । मन्दिरदेखि धामीझाँक्रीकहाँसम्म पुगें,’ छोरालाई लिन प्रहरी चौकी पुगेकी उनले भनिन्, ‘कसैले मुटु–कलेजो निकालिदिएजस्तै भएको थियो ।’ कान्छो छोरा हराएपछि आमाको मन शान्त हुने कुरो भएन । साथीभाइसँग धेरै नखेल्ने, धेरै नबोल्ने छोरा आफैं कसरी कहाँ गयो भन्ने परिवारलाई हेक्का थिएन । बुबाको मोबाइलमा आफ्नो फेसबुक चलाएका किशोर लामो समयदेखि एक किशोरीसँग कुराकानी गर्थे । कुराकानीका क्रममा प्रेममा परे । अश्लील चित्रहरू साटासाट गरे । किशोरीले आफूलाई भेट्न आउन आग्रह गरिन् । उनी राजी भए । किशोरीले आफ्नो दाइसँग आउन आग्रह गरेपछि उनी घरमा कसैलाई नभनी किशोरीलाई भेट्नका लागि उनका दाजुकहाँ कोहलपुर पुगे । कोहलपुरमा किशोरलाई लिन ३१ वर्षीय जितुलाल शर्मा आए । बहिनीसँग भेट गराइदिने बहानामा उनले सिमला पुर्‍याए । किशोरले त्यहाँ मानसिकदेखि शारीरिक यातना पाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
फेसबुकमा किशोरी बनेर कुराकानी गर्ने अनि ती किशोरलाई सिमला पुर्‍याउने पश्चिम रुकुमको चौरजहारी–१३ एकलैनीका जितुलाल शर्मा थिए । प्रहरीले शर्माका बारेमा पत्ता लगाएपछि उनको परिवारलाई भेट्यो । परिवारको माध्यमबाट शर्माको कर्तुत बाहिर आएको हो । परिवारका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि शर्माले किशोरलाई अपहरणमुक्त गरेका हुन् ।
भारतको चण्डीगढ र हरिद्वार हुँदै सिमला पुर्‍याइएका ती किशोर २३ दिनपछि परिवारको सम्पर्कमा आएका छन् । प्रहरीले उनलाई नेपाल–भारत सीमाबाट उद्धार गर्न सफल भएको हो । ‘केटीको आवाज बनाएर कुरा गर्ने, केटीको नाममा फेसबुक बनाएर बालकलाई ट्र्यापमा पार्ने क्रियाकलाप गरेको देखियो,’ इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले भने, ‘प्रहरीलाई गुमराहमा पारेर अपराध गरिए पनि बालकलाई उद्धार गर्न सफल भएका छौं ।’
पछिल्लो समय सामाजिक सञ्जालमा फेक आईडीबाट फिसिङ (ट्र्यापिङ) गरी किशोरकिशोरीलाई फसाउने क्रियाकलाप बढेको मल्लले सुनाए । ‘आफ्ना छोराछोरीहरू मोबाइलमा के गरिरहेका छन्, कोसँग कुरा गरिरहेका छन् भन्नेबारे अभिभावकले पनि निगरानी राख्न जरुरी छ,’ उनले भने, ‘यो घटनामा बालकलाई दुर्घटनाबाट बचाउन सफल भयौं ।’
सामाजिक सञ्जाल फेसबुकबाट अपरिचित नाम नमुना भट्टराई, लुरे डन नामबाट रुकुम पश्चिम चौरजहारीका शर्माले १३ वर्षे किशोरलाई ललाइफकाई गरी २३ दिनसम्म बन्धक बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले शर्माका परिवार प्रहरीको नियन्त्रणमा छन् । आफन्तलाई नियन्त्रणमा लिए पनि उनलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘सुरुमा पीडित परिवारबाट पनि कुनै जानकारी पाएनौं । डरले परिवार खुल्नु भएन,’ डीएसपी मल्लले भने, ‘अझै अनुसन्धान चलेको छैन, अपराधीलाई ढिलोचाँडो पक्राउ गर्छौं ।’

 

अर्थ वाणिज्य

बारा–३ मा ज्वालाको जित

- कान्तिपुर संवाददाता


बारा (कास)– बारा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई २ हजार ९ सय ७२ मतले पराजित गरेकी हुन् । साहले २० हजार २ सय ५१ मत ल्याउँदा यादवले १७ हजार २ सय ७९ मत पाए ।
यो निर्वाचन क्षेत्रमा साह पहिलो पटक चुनावी मैदानमा होमिएकी हुन् । यहाँ ०७४ मा यादवले जित हात पारेका थिए । दोस्रो पटकको चुनावी प्रतिस्पर्धामा उनले पराजय भोग्नुपर्‍यो । एमाले र जसपाबीचको गठबन्धन नहुँदा त्रिपक्षीय प्रतिस्पर्धा थियो । सत्ता गठबन्धनबाट लालबाबु सिंह प्रतिनिधिसभा उम्मेदवार थिए, दुई पटक कांग्रेस जिल्ला सभापतिको नेतृत्व गरेर यसपालि टिकट नपाएको झोकमा रातारात लोसपामा प्रवेश गरी चुनावी मैदानमा होमिएका हुन् । उनी कांग्रेस हुँदा पहिलो संविधानसभामा समानुपातिक सभासद थिए ।
पहिलो संविधानसभामा माओवादीबाट मनोनीत साह दुई पटक राज्यमन्त्री बनेकी थिइन् । ०७४ मा माओवादीबाट बारा ३ (१) मा प्रदेशसभा सदस्य निर्वाचित भएकी उनी ०७० मा बारा–१ बाट संविधानसभा सदस्यमा पराजित भइन् । नेकपाबाट माओवादी र एमाले छुटिँदा एमालेमै बसेका कारण उनको प्रदेशसभा सदस्य पद खारेजीमा परेको थियो ।

Page 7
खेलकुद

मेसी र अर्जेन्टिना दुवै दबाबमा

- कान्तिपुर संवाददाता

 


दोहा (एपी)– साउदी अरेबियाका समर्थकमाझ गल्ली गल्लीमा यस्तै सुनिन्छ । ब्राजिलदेखि दोहाका सडकमा पनि यस्तै सुनिन्छ । विश्वकपलाई लिएर अरबी भाषामा भन्ने गरिएको छ, ‘मेसी कहाँ छन् त ? हामीले उनको आँखा फुटायौं ।’
यसको अर्थ कोही कसैको सानमा धक्का पुर्‍याउनु हो । मेसी र उनको अर्जेन्टिना विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित रूपमा २–१ ले पराजित भएको थियो । यो हार अर्जेन्टिनाका लागि लज्जास्पद नै थियो ।
यो नतिजाले मेसीमात्र होइनन्, अर्जेन्टिना आफैं चर्को दबाबमा छ । डर कस्तो छ भने कसैले नचिताए जस्तै अर्जेन्टिना सुरुबाटै प्रतियोगिताबाट बाहिरिने । त्यसैले अर्जेन्टिनाले शनिबार मेक्सिकोको सामना गर्दा निश्चित जित आवश्यक हुनेछ । अन्यथा अर्जेन्टिनी टिमको काम भनेको लाज मान्दै घर फर्कने मात्र हुनेछ । मेसी भन्छन्, ‘हामीले सुरुदेखि भनेका हौं, हाम्रा लक्ष्य सबै खेल जित्ने हो । अब त हामीलाई जित झन आवश्यक भएको छ ।’
संयोग पनि कस्तो भने मेक्सिको टिमका प्रशिक्षक अरू केही होइनन्, अर्जेन्टिनी नै हुन् । त्यो पनि कुनै समय अर्जेन्टिनाका लागि खेलेका अनि कुनै समय अर्जेन्टिनी टिम प्रशिक्षकका रूपमा सम्हालेको । लगातार दुई अवसरमा कोपा अमेरिकाको फाइनल गुमाएका जेरार्डो मार्टिनोले सन् २०१४ देखि २०१६ बीच अर्जेन्टिनी टिम सम्हालेका थिए । अहिले उनी मेक्सिको टिमका प्रशिक्षक छन् र टिमलाई अन्तिम १६ पुर्‍याउन प्रयास गर्नेछन् ।
त्यो भनेको अर्जेन्टिनाको स्थानमा मेक्सिकोको नकआउट चरणको यात्रा हो । संयोग के रहेको छ भने पछिल्ला विश्वकपका सात संस्करणमा मेक्सिको नकआउट चरणको पहिलो चरणमै हार बेहोरेको छ । त्यसमध्ये दुईपल्टको प्रतिद्वन्द्वी अर्जेन्टिना रहेको छ । त्यो भनेको सन् २००६ र २०१० को विश्वकप हो । यसपल्ट भने यिनै दुई टिमको भेट लिग चरणमै भएको छ । प्रतियोगिता भर्खर ७ दिन पुरानो भएको छ । तर, दुवै टिमका लागि यो ‘गर या मर’ को स्थिति भइसकेको छ ।
समूह ‘सी’ मा पोल्यान्डविरुद्धको आफ्नो पहिलो खेल १–१ को बराबरी खेलेको मेक्सिकोका तिनै प्रशिक्षक मार्टिनो भन्छन्, ‘साउदी अरेबियाविरुद्धको नतिजा जस्तै भए पनि अर्जेन्टिनाले आफ्नो खेल्ने शैली फेर्ने छैन ।’ अर्जेन्टिनाका लागि भने पक्कै पनि केही परिवर्तन आश्वयक रहनेछ । अर्जेन्टिनी प्रशिक्षकका रूपमा लियोनल स्कोलानी पहिलोपल्ट गम्भीर संकटमा फसेका छन् । साउदीविरुद्ध पराजय बेहोर्नुअगाडि अर्जेन्टिनाले त्यसअघि हार्नै बिर्सेको थियो ।
त्यसैले उनको प्रतिक्रिया कस्तो हुने हो त्यो भन्नै सकिन्न । उनले पुरानै खेलाडी दोहोर्‍याउने छन् वा केही परिवर्तन गर्नेछन्, त्यो हेर्नलायक रहनेछ । उनी भन्छन्, ‘सम्हालेर अगाडि बढ्नुबाहेक अर्को कुनै विकल्प छैन । खेलप्रति हाम्रो नजर उस्तै रहनेछ । पहिलो खेलअगाडि सबैले हामीलाई बलियो मानिरहेका थिए, तर विश्वकपमा यस्तो नतिजा सम्भव हुने गर्छ । पहिलो खेलमा हामी जहाँ चुकेका थियौं, त्यसैलाई सच्याएर अगाडि बढ्ने विकल्प हो ।’

खेलकुद

डेनमार्कलाई च्याम्पियन फ्रान्सको डर छैन

- कान्तिपुर संवाददाता


दोहा (एएफपी)– डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमलाई डिफेन्डिङ च्याम्पियन फ्रान्सको शनिबार सामना गर्दा कुनै डर नभएको दाबी गरेका छन् ।
यसै वर्ष नेसन्स लिगमा डेनमार्कले फ्रान्सलाई दुईपल्ट हराइसकेको छ । यसपल्टको विश्वकपको आफ्नो उद्घाटन खेलमा भने डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । डेनर्माकले अहिले पनि फ्रान्सलाई हराउने हो भने समूह ‘डी’ बाट अगाडि बढ्ने सम्भावना बलियो रहनेछ ।
डेनमार्कले अर्को खेलमा अस्ट्रेलियाको सामना गर्नेछ । हुजलमन्डले शुक्रबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘पहिलो खेलको बराबरीपछि हाम्रा लागि निकै महत्त्वपूर्ण खेल अगाडि आएको छ । हाम्रो प्रतिद्वन्द्वी निकै अब्बल दर्जाको छ र उसको परिचय विश्वकपको पछिल्लो विजेता पनि हो । फ्रान्सेली फुटबल टिममा जति प्रतिभाशाली खेलाडी छन्, त्यो निकै लोभलाग्दो छ । मेरो यो टिमप्रति धेरै प्रशंसा पनि छ । तर हामी आफैं कति बलियो छौं भनेर पनि थाहा छ ।’
युरो २०२० को सेमिफाइनलसम्म पुगेको डेनमार्कले फ्रान्सलाई नेसन्स लिग घर बाहिर र भित्र पराजित गरेको थियो । कतारमा पनि डेनमार्क ‘डार्क हर्स’ को रूपमा रहेको छ । रुसमा भएको चार वर्षअगाडिको पछिल्लो विश्वकपमा पनि यी दुई टिम लिग चरणमा भिडेका थिए । त्यसको नतिजा गोलरहित रहेको थियो । हुजलमन्ड भन्छन्, ‘हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने हो भने फ्रान्सविरुद्ध राम्रो नतिजा निस्कने सम्भावना धेरै छ ।’
उनी थप्छन्, ‘त्यसैले हामीले यो खेलमा राम्रो गर्नुपर्छ र अगाडि गन्तव्यतर्फ अग्रसर हुनुपर्छ ।’ फ्रान्सले चोटका कारण बालोन डी’अर विजेता करिम बेन्जेमालाई गुमाइसकेको छ । फ्रान्सले उपाधि रक्षा गर्ने अभियान सुरु हुने संघारमै बेन्जेमालाई गुमाएको थियो । तर डिडियर डेसच्याम्पको टिमले अस्ट्रेलियालाई सजिलै ४–१ ले हराएको थियो । त्यसमा ओलिभर जिरोडले दुई गोल गरे । उनले फ्रान्सका लागि थिएरी हेनरीको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका थिए ।
त्यस खेलमा केलियन एमबाप्पेले एक गोल गर्दै अर्को गोलमा सहयोगी भूमिका पनि निभाए । एमबाप्पेविरुद्ध सम्भाविन रणनीतिबारे प्रशिक्षक हुजलमन्डले भने, ‘कोही कसैबारे डराउनु ठीक हुन्न । फ्रान्सविरुद्ध पछिल्लो सेप्टेम्बरमा कोपनहेगनमा खेल्दा हामीले राम्रो योजना बनाएका थियौं र खेलका क्रममा दुई तीन राम्रा अवसर पनि बनाउन सक्यौं । एमबाप्पे जत्तिको विश्वस्तरीय खेलाडीका लागि कुनै योजना बनाएर रोक्न सकिन्न । उनलाई चुप राखेर राख्न सकिन्न ।’
उनी थप्छन्, ‘हामी एमबाप्लेले सजिलो मौका नपाओस भन्ने मात्र हो । उनले आफूले चाहेअनुसार खेल्न नसकोस् भन्ने मात्र हो ।’ डनेमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले ट्युनिसियाविरुद्धको खेलमा पूरा ९० मिनेट खेलेका थिए । युरोमा भएको मैदानमै भएको कार्डिक आक्रामणपछि एरिक्सन पहिलो ठूलो प्रतियोगिता खेलिरहेका छन् । खेलकै क्रममा मैदानमा ढलेका एरिक्सन अहिले भन्छन्, ‘यो त धेरै पुरानो कुरा जस्तै भयो, चर्चा अहिले म जे जस्तो खेलाडी छु, त्यसबारे हो । फेरि पनि फुटबल खेल्न पाएकोमा म खुसी छु ।’

Page 8
खेलकुद

राजनीतिक दुस्मनी र तीन मिनेटको खेल

- राजु घिसिङ

(दोहा) - संयुक्त अधिराज्य (युके) मा चार देश छन् । त्यसैमा पर्दछन् इंग्ल्यान्ड र वेल्स । अघिल्लो शताब्दी विश्वमै शासन जमाएको युकेको पहिल्यैदेखि घनिष्ट राजनीतिक सम्बन्ध छ अमेरिकासँग । पहिला युकेले उपनिवेश बनाएको विश्वका अधिकांश देशको नेतृत्व अहिले अमेरिकी नीति र इसारामा चल्ने गरेको छ ।
विश्व राजनीतिमा ठूलो प्रभाव जमाइरहेका अमेरिका र युकेसँग इरानको सम्बन्ध पटक्कै राम्रो छैन । सम्बन्ध निकै चिसो छ । कस्तोसम्म भने राजनीतिक रूपमा यी दुई ध्रुवका देश एकले अर्काको अस्तित्व पनि स्वीकार्न चाहँदैनन् । कहिले आणविक अस्त्र त कहिले सशस्त्र इस्लामामिक समूहलाई प्रश्रय दिएको भन्दै अमेरिकी–युके एलायन्सले इरानमाथि नाकाबन्दी गर्दै आएको छ । मौका पारेर शक्तिशाली इरानी व्यक्तिमाथि आक्रामण नै गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर कासिम सुलेइमनलाई इराकी प्रधानमन्त्री भेट्न बगदाद पुगेका बेला अमेरिकी सेनाको ड्रोन आक्रमणमा मारिएको दुई वर्ष पनि भएको छैन ।
त्यसैले इरानले राजनीतिक शत्रुता रहेका टिमहरूविरुद्ध कतारमा भिड्न चाहेको थिएन । तर, विश्वकपको ‘ड्र’ त्यस्तो भएन । फुटबलको मैदानबाहिर कटु सम्बन्ध भएका देशकै तीन टिम इरानको समूहमा पर्नु संयोग पनि हो । खाडी क्षेत्रमा भएको पहिलो विश्वकपमा इरानको सुरुआत राम्रो भएन । छैटौंपल्ट विश्वकपमा सहभागी इरानले गत सोमबार फुटबलको जन्मदाता एवं सन् १९६६ को च्याम्पियन इंग्ल्यान्डविरुद्ध इतिहासकै सबैभन्दा फराकिलो ६–२ को हार खेप्यो । त्यसैले रियल म्याड्रिड र टोटेनहमका पूर्वफरवार्ड गारेथ बेलको कप्तानीमा रहेको वेल्सविरुद्ध इरानी टिम सुधारिएको प्रदर्शन गर्नुपर्ने दबाबमा थियो ।
विश्वकपमा पहिलोपल्ट नकआउट चरणमा स्थान बनाउन इरानलाई प्रिमियर लिगका खेलाडीको उपस्थितिले बलियो हुँदै ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्समाथि जित्नैपर्ने बाध्यता थियो । किनभने पहिलो खेलमा अन्त्यतिर बेलको पेनाल्टी गोलमा अमेरिकालाई १–१ मा रोक्दै हार टारेको वेल्सले समूहको अन्तिम खेलमा चार वर्षअघि सेमिफाइनल खेलेको तथा युरो २०२० को उपविजेता इंग्ल्याडको सामना गर्नेछ । त्यसैले कतार यात्रा लम्ब्याउने चाहनामा दुवै टिमका लागि पूरा ३ अंक जरुरी थियो । त्यसैले दुवै टिमले आक्रामक रणनीति लिएको थियो ।

शृंखलाबद्ध आक्रामण
वास्तवमा अहमद बिन अली रंगशालामा प्रतिस्पर्धाको घण्टौंअघि नै इरानको पक्षमा माहोल बनेको थियो । रंगशालाबाहिर इरानी समर्थक सेतो जर्सी, झन्डा, रंगीन टोपीसहित नाचगान र हुटिङ गरिरहेका थिए । इरानी नाच र संगीतको प्रस्तुति भइरहेको थियो । त्यो माहोल देखेर तटस्थ दर्शक पनि इरानको झण्डाको तीन रंग (हरियो, रातो र सेतो) ले गाला रंगाउन लाइन लागेका थिए ।
पहिलो मिनेटबाटै वेल्सको पोस्टमा धावा बोलेको इरानले त्यसक्रमलाई पूरा खेलमा निरन्तरता दियो । हरेक पोजिसनमा इरानी खेलाडी मिहिनेती देखिए । वेल्सले पनि बेलाबेला इरानी डिफेन्सलाई दबाब दिएको थियो । इंग्ल्यान्डविरुद्ध लज्जास्पद हार बिर्साउने प्रयासमा इरानी खेलाडीहरूले गोलका लागि सहज चार अवसर सिर्जना गर्‍यो । तर, फिनिसिङ चुस्त भएन । एकपल्ट बललाई पोस्टको दिशा दिए पनि त्यो ‘मुभ’ मा भिडियो असिस्टेन्ट रेफ्री (भार) ले अफसाइड देखाइदियो । दोस्रो हाफमा वेल्स केही सुधारियो । गोलको मौका पनि बनायो तर नतिजाका लागि निर्णायक प्रहार गर्न सकेन ।
जर्मन क्लब बायर लेभरकुजनका फरवार्ड सरदार अजमोनले ५१ औं मिनेटमा प्रहार गरेको बल पोलमा लागेर फर्कियो । अली गोलिजादेहले पेनाल्टी क्षेत्रबाहिरैबाट सशक्त रूपमा हानेको बलमा पनि पोस्ट बाधक बन्यो । त्यसैमा फर्किएको बल पेनाल्टी क्षेत्रमा रहेका अजमोनले पाए तर उनले बल सिधै गोलकिपर वायनी होनेसीलाई दिँदा इरानले अग्रता लिने अवसर गुमायो । सइद एजातोलाहीको प्रहारमा होनेसीको उत्कृष्ट बचाउ गर्दै बल बाहिर फालेर वेल्सको संकट टारेका थिए । वेल्सका बेन डेभिसको शक्तिशाली प्रहारमा इरानी गोलकिपरले आकर्षक रूपमा बल बाहिर पठाए ।

रातो कार्ड निर्णायक
रोमाञ्चक खेलको कथा ८६ औं मिनेटमा फेरियो । गोलकिपर होनेसीले बल अगाडि बढाइरहेका मेहदी तारेमीलाई पेनाल्टी क्षेत्रबाहिरै लडाएपछि वेल्सलाई संकट आइलाग्यो । तत्कालै रेफ्रीले उनलाई पहेंलो कार्ड दिएपछि इरानी खेलाडीहरूले विरोध गरेका थिए अनि भारले रिभ्यु गरेपछि होनेसीलाई रातो कार्ड दिइयो । वेल्स १० खेलाडीमा खुम्चियो । आक्रामक खेलाडी आरोन राम्सीलाई निकाल्दै वैकल्पिक गोलकिपर ड्यानी वार्डलाई वेल्सको पोस्ट सम्हाल्न पठाइयो ।
खेलाडी संख्याले फाइदा भए पनि इरान थप आक्रामक बन्यो । इन्ज्युरी समय ९ मिनेट थपिए पनि ११ मिनेट चल्यो । त्यसैको आठौं मिनेट अर्थात् ९८ औं मिनेटमा रुजवेह चेस्मीले पेनाल्टी क्षेत्रबाहिरैबाट बल प्रहार गर्दै रोमाञ्चक गोल गरेर इरानलाई अग्रता दिलाए । उनले सशक्त रूपमा प्रहार गरेको बल गोलकिपर वार्डले रोक्ने कुनै अवसर पाएनन् र सुन्दर गोलसँगै इरान १–० ले अगाडि बढ्यो ।
इरानी खेलाडी र समर्थकले चेस्मीको गोलमा ४० हजार ८ सय ७४ दर्शकसामु भव्य खुसीयाली मनाए । केही दर्शक रोए । कप्तान गारेथ बेलसहित वेल्सका खेलाडीहरू भने हार स्वीकारेजस्तै गरी मैदानमै ढलेका थिए । वेल्सका खेलाडीहरू एक गोलले पछाडि परेलगत्तै गोल फर्काउने प्रयासमा निकै हतारियो । समय पनि सकिँदै गयो । उल्टै, काउन्टर एट्याकमा रमिन रेजाइनले पाएको अवसरलाई इन्ज्युरी समयको ११ औं मिनेटमा गोलमा परिणत गर्दै २–० को अग्रतासहित विश्वकपमा इरानको तेस्रो जित पक्का गरिदिए । लगत्तै खेल सकियो ।
इरानले समूह चरणको अन्तिम खेलमा अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उसलाई नकआउट प्रवेशका लागि त्यो खेल निर्णायक बन्नेछ । दुई खेलमा एक अंकमै सीमित भएपछि वेल्स भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

ॅमासा २२ अमिनी’
अमेरिकी नीतिको अन्तराष्ट्रिय राजनीतिको भूमरीमा फसेको इरान अहिले आफ्नै देशभित्रको आन्दोलनले पनि समस्यामा परेको छ । दुई महिनाअघि बुर्का नलगाएको दोषमा पक्राउ परेकी २२ वर्षीया युवती मासा अमिनीको प्रहरी हिरासतमै मृत्यु भएपछि पूरा इरानमै महिलाअधिकारको पक्षमा आन्दोलन चर्किएको छ । सरकारले आन्दोलनको दमन गर्दा ४ सय बढीले ज्यान गुमाएको मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् ।
दमनविरुद्ध र अधिकारका लागि इरानी टिमले इंग्ल्यान्डविरुद्धको खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेका थिए । उनीहरूले वेल्सविरुद्ध गाए । खेलाडीहरूले पनि अधिकारको लडाइँमा साथ दिएका छन्, सार्वजनिक रूपमै आवाज उठाइरहेका छन् । केही दर्शक ‘मासा २२ अमिनी’ लेखेको टिसर्ट लगाएर र प्लेकार्ड बोकेर आएका थिए । रंगशालाभित्र प्रहरीले त्यस्ता टिसर्ट परिवर्तन गर्न वा छोप्न दबाब दिइरहेका थिए । प्लेकार्ड खोसिएको थियो । त्यसैले इरानीका लागि वेल्सविरुद्ध जित विशेष रह्यो । इरानी जनताका लागि विश्वकपमा जोडेको ३ अंकमात्रै होइन, राजनीतिक शत्रुता रहेको देशमाथिको जित र स्वदेशमै अधिकारको लडाइँमा चर्किरहेको आन्दोलनको समर्थनमा थपिएको हौसला पनि हो ।

खेलकुद

आयोजक कतार बाहिरियो

- कान्तिपुर संवाददाता


दोहा (एएफपी)– कतार औपचारिक रूपमै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कतार शुक्रबार सेनेगलसँग ३–१ ले पराजित भएको थियो । नेदरल्यान्ड्स र इक्वेडरबीचको अर्को खेल १–१ को बराबरीमा रोकिएपछि आयोजक कतार समूह चरणको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो ।
कतारले लगातार दोस्रो हार भोग्यो । पहिलो खेलमा टोलीलाई इक्वेडरले २–० ले पराजित गरेको थियो । विश्वकपको आयोजक राष्ट्र पहिलो चरणबाटै बाहिरिने कतार दोस्रो राष्ट्र बन्यो । २०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजना गरे पनि टोली दोस्रो चरणमा पुग्न सकेको थिएन । इक्वेडरसँग बराबरीमा रोकिएपछि नेदरल्यान्ड्सले कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने मौका गुमाएको थियो । नेदरल्यान्ड्सले यो खेल जितेको भए लगातार दोस्रो खेल जित्दै अन्तिम १६ मा पुग्ने थियो । कोडी गाक्पोले लगातार दोस्रो खेलमा गोल गरेपछि नेदरल्यान्ड्सले सुरुमै अग्रता लिएको थियो । तर दोस्रो हाफमा इनर भ्यालेन्सियाको गोलमा इक्वेडरले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो । यस विश्वकपमा भ्यालेन्सियाको तेस्रो गोल हो ।

ब्राजिल विजयी
रिचार्लिसनको दुई गोलसँगै ब्राजिलले बिहीबार राति सर्बियामाथि २–० को जित निकालेको थियो । उनले ७३ औं मिनेटमा गरेको दोस्रो गोल यो विश्वकपकै एक उत्कृष्ट गोल हो । भिनिसियस जुनियरको पास नियन्त्रण गर्दै उनले ‘बाइसाइकल किक’ बाट आकर्षक गोलमा गरेर ब्राजिलको जित सुनिश्चित गरेका थिए । ब्राजिलले गोलको खाता खोल्न भने ६२ औं मिनेट कुर्नुपर्‍यो । जुनियरको प्रहार गोलकिपर भान्जा मिलिनकोचि–साभिचले रोकेको बललाई नजिकै पुगेका रिचार्लिसनले गोलमा परिणत गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलमा युवा स्टार नेयमर घाइते भएका थिए । उनले अर्को खेल गुमाउने सम्भावना बढेको छ ।

खेलकुद

प्रतीकको शतक

- कान्तिपुर संवाददाता

(काठमाडौं) - प्रतीक श्रेष्ठको सानदार शतकमा वाग्मती प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । प्रतीकले अविजित १ सय ४२ रन बनाएपछि वाग्मतीले शुक्रबार प्रदेश १ लाई ७२ रनले पराजित गर्‍यो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४४ बलमा अर्धशतक र ९० बलमा शतक पूरा गरेका उनले कुल १ सय ५ बलको इनिङ्समा १० चौका र ९ छक्का प्रहार गरे । लक्की कठायत ८, उत्तम मगर शून्य, सक्षम बस्ताकोटी २३, अशोक पौडेल २५, योगेश भाट १४, ओमकार यादव ७ रनमा आउट भएपछि प्रतीकले अथर्व पौडेलसँग सातौं विकेटमा १ सय रनको साझेदारी गरे ।
अथर्वले ४८ बल खेल्दै २ चौकासहित १५ रन बनाए । सक्रिय कार्कीले ८ रन जोडे । प्रदेश १ बाट दीपेश कँडेल, विपिन महतो र सोनु अन्सारीले २–२ विकेट लिए । दीपेशले १० ओभरमा १ मेडन राख्दै २४, विपिनले १० ओभरमा ३४ र सोनुले ६ ओभरमा ५९ रन खर्चे । अभिनय राजवंशी र आशिष मगरले १–१ विकेट लिए ।
प्रदेश १ जवाफमा ५० औं ओभरमा १ सय ९७ रनमा अलआउट भयो । कप्तान दीपेशले ४७ रन बनाउनेक्रममा ६६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । सोनु १३, शुभन गहतराज २६, स्टाइन रिजाल ३५, भूपाल डंगोल ८, फैजल रहमान २४ रनमा आउट भए । १० औं नम्बरमा ब्याटिङ गरेका विपिनले २२ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाए । वाग्मतीका सक्रियले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे । ओमकारले ९ ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर २, अहमद राजा, अभिषेक कोइराला र अथर्वले १–१ विकेट लिए ।
वाग्मतीले पहिलो खेलमा गण्डकीलाई ७४ रनले हराएको थियो । प्रदेश १ ले दोस्रो खेलमा पहिलो हार भोगेको हो । राउन्ड रोबिन लिगमा सात प्रदेश आमनेसामने भएपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान छ । वाग्मतीले जस्तै गत वर्षको उपविजेता सुदूरपश्चिमले पनि पहिलो दुई खेलमै विजय हात पारेको छ ।
सुदूरपश्चिमले लुम्बिनीलाई १ सय रनले पराजित गर्‍यो । दीपक बोहराको अर्धशतकप्रेरित सुदूरपश्चिम ४९.५ ओभरमा १ सय ८० रनमा अलआउट भयो । दीपकले ७३ बल खेली ८ चौका प्रहार गर्दै ५४ रन बनाए । गजेन्द्र बोहरा १९, अर्का दीपक बोहरा र नरेन्द्र साउद समान १७, विशाल ऐर १६ तथा हेमन्त धामी १५ रनमा आउट भए । लुम्बिनीका कप्तान विशालविक्रम केसीले ६ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै नर सार्की र निर्मल गुरुङले २–२ तथा दुर्गेश गुप्ता र रमेश कुर्मीले १–१ विकेट लिए ।
मूलपानी क्रिकेट मैदानको कठिन विकेटमा लुम्बिनी २१ ओभरमा ८० रनमै अलआउट भयो । आकाश त्रिपाठीले २२, देव खनालले १३ र मनोज मगरले ११ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सुदूरपश्चिमका आकाश चन्दले ३ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । उनी नै प्लेयर अफ द म्याच बने । हेमन्तले ३ र कैलाश ऐरले १ विकेट लिए ।

खेलकुद

जुनियर टेनिसमा १२ देशका खेलाडी

- कान्तिपुर संवाददाता


पोखरा (कास)– पोखरा रंगशाला टेनिस कोर्ट कम्प्लेक्समा शनिबारदेखि हुने अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा १२ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल आईटीएफ जुनियर्स (यू–१८) वर्ल्ड र्‍याङकिङ टेनिस च्याम्पियनसिप ग्रेड–५ सर्किट वान र टु प्रतियोगितामा १३ देखि १८ वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिलातर्फ ६४–६४ गरी १ सय २८ खेलाडी सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागी हुन् भारत, ताइपेई, दक्षिण कोरिया, रुस, स्पेन, जर्मनी, जापान, श्रीलंका, फिलिपिन्स, अस्ट्रेलिया, हङकङ र अमेरिकाका खेलाडी पोखरा आइसकेका छन् । मंसिर २४ सम्म हुने प्रतियोगिता पुरुष सिंगल्स र डबल्स, महिला डबल्स र सिंगल्स इभेन्टमा प्रतिस्पर्धा हुनेछ । टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले ३२ खेलाडीको ड्र हुने र ३२ भन्दा बढी खेलाडी भएकाले शनिबार र आइतबार क्वालिफाइङ प्रतियोगिता र सोमबारदेखि मुख्य प्रतियोगिता हुने बताए । उनका अनुसार सिंगल्सतर्फ विजेताले ३०, रनरअपले १८, सेकेन्ड रनरअपले ९, क्वाटरफाइनलिस्ट ५ र पहिलो राउन्ड जित्नेले २ अंक प्राप्त गर्नेछन् । डबल्सतर्फ खेलाडीले सिंगल्समा पाउने अंकको २५ प्रतिशत पाउने छन् । विजेताले ७, रनरअपले ४.४, सेकेन्ड रनरअपले २.२५, क्वार्टरफाइनलिस्टले १.२५ अंक पाउने छन् । ‘यो अंक वर्ल्ड र्‍यांकिङमा जोडिने भएकाले खेलाडीका लागि महत्त्वपूर्ण हुन्छ,’ विष्टले भने । प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक नेपाल आइसकेका छन् ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता

री

रसिला र अनु फाइनल भिड्ने
काठमाडौं (कास)– आर्मीकी रसिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल पुगेका छन् । महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन रसिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले र आर्मीकै अनुले आफ्नै टिमकी प्राथना देउवालाई १७–२१, २१–१८, २१–१७ ले हराए । शुक्रबार पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल आर्मीका दिवस शंकरलाई २१–१०, २१–१२ ले पराजित गर्दै सेमिफाइनल पुगे । कास्कीका विधान अधिकारीले एपिएफका देवराज रानालाई २१–१३, २१–११ को जित निकाल्दै प्रिन्ससँगको भेट पक्का गरे । छात्रा यू–१७ मा आर्मीकी रिहाना शेरचनले आफ्नै टिमकी समृद्धि श्रेष्ठलाई २१–१५, २१–१० ले पराजित गर्दै फाइनल प्रवेश गरिन् । अर्को खेलमा कैलालीकी रञ्जु रानाविरुद्ध ललितपुरकी श्रेया बज्राचार्य १९–२१, २१–१९, २१–१३ को जित निकाल्दै फाइनल पुगिन् । छात्रतर्फ सेनाका कविर केसी र आर्मीका अनिल मल्ल फाइनल पुगेका छन् ।
तीनै स्पर्धामा भ्याली पब्लिक विजयी
काठमाडौं (कास)– आयोजक भ्याली पब्लिकले १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप बास्केटबलमा शुक्रबार विजयी सुरुआत गरेको छ । सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३७–१६ स्कोरले हरायो । भ्यालीका अनमोल गुरुङ र ईश्वर घलेले ११–११ स्कोर गरे । जुनियरमा अशोक बिक र छिमे तामाङको ५–५ स्कोरमा भ्यालीले ईबीएलाई १३–८ ले हरायो । गर्ल्समा भ्याली पब्लिकले केभीकेएसएसलाई २५–११ ले पन्छायो । भ्यालीकी मुस्कान गुरुङले ११ स्कोर गरिन् । सिनियर ब्वाइजमा सैनिक मावि, एन्जल्स हार्ट र एचएचसीए विजयी भए । गर्ल्समा एचएचसीएले जुगलमाथि २६–१२ को जित्दा सारा घलेले १४ स्कोर जोडिन् ।

Page 9
कोसेली

माधवी : अस्तित्वको चक्रव्यूह

- सरला गौतम

 

 


दिल्लीको चाँदनी चोक गुन्जायमान छ । यो बोलिरहन्छ, कसैले नबोलाए पनि ।
साँझको मधुर तापमान, न हप्प छ न सितल । दिल्लीकै नामी करिम्स रेस्टुरेन्टमा मानिसहरू परिकारको स्वादमा मग्न छन् । थरीथरीका मानिस, थरीथरीका खानेकुरा । एउटा टेबलमा मेरा आँखा ठोकिन्छ । आँखा मात्रै देखाएर बुर्कामा पूरै छोपिएकी एक महिला आफ्ना दुई सुन्दर सन्तानलाई स्नेहले स्याहार्दै छिन् । साथमा उनको पति हुनुपर्छ । आफ्ना मानिस फुक्काफाल भएर संसारमा घुमिरहँदा उनी कपडाको खोलमा बन्द छिन् । कस्तो लाग्दो हो ? उनले बाँच्न चाहेको संसार कस्तो होला ? आफ्नो अस्तित्वको परिभाषा कसरी खोजिरहेकी होलिन् ? बुर्काले छोपिएको शरीर, शरीरभित्र लुकेको उनको मन ! उनको मनको संसार ! केवल अनुमान गरेर फर्किएं । बोलिरहेको चाँदनी चोकबाट मेरा आँखा परपर हुँदै गए । हरियाणा पुगें । दिनले चोला फेर्‍यो । मनको दृश्य फेरिएन । मनको चोकमा ती महिला बसिरहिन् ।
यतिबेला हप्प छ । मध्याह्नको घाम छ । हरियाणाको तातो बाफले हपक्क पारेको छ । ममता मेहरोत्राको ‘महाभारतकी माधवी’ नामक पुस्तकका पाना पल्टाउन थाल्छु । माधवी महाभारतकी एक युगान्तकारी पात्र हुन् । उनको प्रसंग महाभारतको उद्योग पर्वमा छ । माधवीको चर्चाबिना महाभारत–कथा अपुरो हुन्छ ।
राजा यायातीकी परमसुन्दरी छोरी हुन्– माधवी । उनलाई दुई वरदान प्राप्त छन् । पहिलो उनी चार यजस्वी चक्रवर्ती पुत्रहरूका आमा बन्नेछिन् । दोस्रो प्रत्येक पुत्र प्राप्तिपछि उनको चिर यौवन फर्किनेछ । उनी पुनः कुमारी युवती बन्नेछिन् । महाभारतको यस कथामा माधवीको शौभाग्य उनको रूप र मातृत्वको तागतमा खोजिएको छ । माधवीको अस्तित्व यही वरदानमा विलीन छ । स्वअस्तित्वको खोजमै माधवीको सम्पूर्ण जीवन समर्पित छ ।
परम्परागत संरचनाको खोलमा उकुसमुकुस भएकी माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा रहन्छिन् । खोज्दा–खोज्दै उनी स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।
चाँदनी चोकमा देखिएकी महिलाको मनको बात मैले जान्न सकिनँ । उनले बोलेको सुनिनँ । पानाहरूमा माधवी बोलिरहेकी छिन् । बोलेरै बोलिरहेकी छिन् । नबोलेर झन् बोलिरहेकी छिन् । पुस्तकका हरेक पाना मभित्र स–साना परकम्प छोड्दै बिदा हुन्छन् । माधवीले उठाएको अस्तित्वको प्रश्न खिलझैँ मनमा रोपिन्छ ।

अन्त्यहीन भुमरी
माधवीको सौन्दर्य–तेजमा चन्द्रमा हार खान्छ । सौन्दर्यको यस्तो शक्ति छ, तीन लोकमा कम्पन ल्याइदिन्छ । उनलाई प्राप्त भएको बरदान छ उस्तै शक्तिशाली । ऋषिहरूले भनेका छन्– उनी चार चक्रवर्ती राजाकी आमा बन्नेछन् । तेजस्वी पराक्रमी हुनेछन् उनका सन्तान । एक स्त्रीको ललाटमा लेखिने योभन्दा शक्तिशाली भाग्य के हुन्छ ? के हुन्छ लोकमा योभन्दा उज्यालो विषय ? माधवी र उनका पिता दुवैलाई लाग्छ– माधवीको अस्तित्व भन्नु मात्र यत्ति हो ।
पर कतै जंगलमा एक ब्राह्मण गालब गुरु विश्वामित्रबाट ज्ञान लिइरहेका छन् । विश्वामित्रजस्ता तेजस्वी गुरुबाट पाएको ज्ञानले चेला गालब कृतज्ञ हुन्छन् । यो महाज्ञानको मूल्य के गरी तिर्ने होला ? सोचमा पर्छन् गालब । गुरुसँग बिन्ती गर्छन् । गुरुदक्षिणा माग गरिदिन अनुनयविनय गर्छन् ।
विश्वामित्र ज्ञानको मूल्य लिन इन्कार गर्छन् । गालबको हठसामु विश्वामित्रको केही लाग्दैन । उनी गालबलाई भनिदिन्छन्, ‘आठ सय सेता घोडाहरू, चन्द्रजस्ता उज्याला, हरेकको एक कान कालो होस् । यस्ता घोडाहरू मलाई दिनु ।’ गुरुको माग सुनेर गालबको होस उठ्छ । आफ्ना माग राखेपछि विश्वामित्र आँसु झार्दै बाटो लाग्छन् । उनलाई पनि थाहा छ, लोकमै एक दुर्लभ माग हो यो । गालबको समस्याका दिन सुरु हुन्छन् ।
गालब आफ्ना मित्र गरुडको सहायतामा राजा यायातीको दरबार पुग्छन् ।
दरबारमा एक ब्राह्मण आयो । अनि असम्भव माग राखिदियो । यायातीको ओठतालु सुक्छ । ब्राह्मणलाई खालि हात कसरी फर्काउनु ? दिनु त कसरी दिनु उच्च प्रजातिका आठ सय घोडा ?
ठीक यही बेला दरबारको बैठकमा माधवीको प्रवेश हुन्छ । माधवीलार्ई देख्नेबित्तिकै यायातीको दिमागमा बिजुली चम्किन्छ । माधवीले पाएको वरदानको तागत स्मरण गर्छन् यायाती । माधवीको सौन्दर्यमा उनी समाधानको उज्यालो देख्छन् । गालब र यायातीबीच माधवी उभिएकी छिन् । यायातीले प्रस्ताव पेस गर्छन् । गालबले माधवीलाई यस्तो राजाकहाँ लिएर जानेछन्, जो शक्ति र ऐश्वर्यको मालिक हुनेछन् । माधवी उनलाई पुत्रहरू दिनेछिन् । बदलामा गालबले आठ सय घोडा पाउनेछन् । पिताको प्रस्ताव सुनेपछि माधवीलाई उनी उभिएको जमिन भासिएझैं लाग्छ । एक पलमा उनको वरदान उनकै स्वअस्तित्वको प्रश्न बनिदिन्छ ।
लिने र दिने आमनेसामने भए । सौदाबाजीका साझेदार । प्रतिष्ठाको खालमा माधवीको सौन्दर्य जुवामा लगाइयो । चुपचाप निरीह उभिइरहिन् माधवी । ‘के म भन्नु मेरो रूप मात्रै हो ? जसलाई कसैले एकै पलमा जुवामा लगाउन सक्छ ?’ माधवीको मनमा गइरहेको प्रश्नको भूकम्पसँग पूरै बेखबर छन् यायाती । स्त्री भन्नु केवल एक शरीर हो । योभन्दा पर सोच्न सक्ने उनको ज्ञानको नक्षत्र छैन । उनी त ढुक्कै भनिदिन्छन्, ‘जाऊ माधवी आफ्नो भाग्यको सामाना गर । भगवान्हरू हार खाने तिम्रो सौन्दर्य छ । राजाहरूको के कुरा भयो ? प्रतापी सन्तानलाई जन्म दिन तिमी सक्षम छौ ।’ स्त्रीको शरीरभित्र उसको हृदय हुन्छ । हृदयको आफ्नै निर्णय हुन्छ । यति सोच्न सक्ने ज्ञान न यायातीमा हुन्छ न गालबमा ।
माधवी आफ्नी दासीको शरणमा परिन् । असंख्य अश्रुधारा बगाइरहिन् । माधवीसँग प्रश्नको पहाड थियो । सहेलीजस्ती दासीसँग त्यसको उत्तर थिएन । माधवीले आफ्नो प्रारब्ध स्वीकार गरिन् । एक अपरिचित ब्राह्मण पुरुषको पछिपछि लाग्छिन् माधवी । कहाँ, कुन लोकमा उनको सौन्दर्यको हिसाबकिताब हुनेछ ? उनी बेखबर छिन् । भयभीत छिन् । दुई पुरुष उभिएर उनको सौन्दर्यको हिसाबकिताब गरे । उनीहरूको प्रतिष्ठाको मोलतोल गरे । माधवीको उज्यालो कायामा लुकेको हृदयमा ग्रहण लाग्यो । शरीरको सौदा गर्नेहरूलाई हृदयको के चासो ?
सौन्दर्यको तेजलाई शक्ति मानिरहेकी माधवी पहिलो पटक काँपिन् । स्त्रीलाई कायाभन्दा पर नदेख्ने जगत्को नियमसँग उनी छक्क परिन् । पहिलो पटक उनको सौन्दर्यको शक्ति पराजित हुँदै थियो । ब्राह्मणको ऋण चुकाउन यायातीले माधवीको सौन्दर्यको प्रयोग गरे । यो न्यायपूर्ण थिएन । पूरै लोकमा यो अन्यायको खिलाफ बोलिदिने पनि कोही थिएन ।
माधवी चुपचाप–चुपचाप गालबको पछि लागिरहिन् । पुष्पजस्ती कोमल माधवी एक कठोर यात्रामा हिँडिरहिन् । सोचहरूको तुफानमा उनको मन हराउँछ । उनको पाइताला चट्टानमा ठोकिन्छ । मौन यात्राको सन्नाटा भंग गर्दै उनी चट्टानसँग बोल्छिन् । ‘तिमीले मेरो दुर्दशा देखेनौ ? दुःखले म कति काँपिरहेकी छु, तिमीलाई आहट महसुस भएन ? किन थप्यौ अझै मलाई चोट ?’
वेदनाले आत्तिएकी माधवी गालबतिर हेर्छिन् । सहानुभूति खोज्छिन् । गालब फर्केर हेर्दैनन् । उनलाई हतार मात्रै छ । माधवीलाई लाग्छ– ‘यो मान्छेभन्दा त यही पत्थर ठीक । कम–से–कम चोट दियो । म रोएँ ।’ गालबको निष्ठुरता र बेवास्तासँग माधवी रुन पनि सक्दिनन् ।
गालब निष्ठुरताको हद पार गर्छन् । उनी भन्छन्, ‘समय बर्बाद नगर । यात्रा कठिन छ । रात नजिक छ । हामीलाई लक्ष्यमा पुग्नु छ ।’ गालबका लागि माधवी केवल एक शरीर हुन् । यस्तो सुन्दर र शक्तिशाली अस्त्र हो माधवीको शरीर, जसले गालबको सबै समस्या फुमन्तर गरिदिनेछ । उनी कहलिनेछन् अब्बल गुरुका महान् चेला । कसैको अति प्रिय पात्र हुने लालचमा अति निष्ठुर भएको गालबलाई होससम्म छैन । भयभीत मन लिएर हिँडिरहेकी माधवी ! कथित महानताको महत्त्वाकांक्षाले दृष्टिविहीन बनेका गालब ! यो कस्तो सहयात्रा ? ज्ञान हराएरै खोजिने ज्ञानको यो कस्तो कमजोर परिभाषा ?
गालब माधवीलाई अयोध्याका राजा हर्यस्वकहाँ पुर्‍याउँछन् । काँपिरहेकी माधवीलाई मूल्यका लागि खडा गराउँछन् । चन्द्रमाको तेज हार खाने सुन्दरता आफ्नै सामुन्ने उभिएको छ । हर्यस्व वाण लागेजस्ता हुन्छन् । भावशून्य उभिएकी माधवीलाई सर्वांग नियाल्दै हर्यस्व सुन्दरताको महिमा गाउँछन् ।
‘भूमिकी यस्ती अप्सरा, जसका सात अंग जुन उँचो हुनुपर्ने उँचो छन् । सात अंग जुन पातलो हुनुपर्छ पातला छन् । तीन अंग जुन गहिरो हुनुपर्छ गहिरा छन् । पाँच अंग जुन लाल हुनुपर्छ लाल छन् ।’ यस्ती अनुपम सौन्दर्यकी खानीबाट सन्तान प्राप्त गर्ने प्रस्ताव ! हर्यस्व खुसीले पागलसमान हुन्छन् । हर्यस्वको पागलपन गालबका लागि बन्छ सुवर्ण अवसर । उनलाई अरू के चाहियो ?
गालब माधवीको महासौन्दर्यको मूल्य लगाउँछन् । हर्यस्वको सातो जान्छ । आठ सय उच्च जातका सेता घोडा, हरेकको एक कान कालो होस् । यो असम्भव मूल्य कसरी चुकाउने ? दुई सय घोडा मात्रै आफूसँग भएको हर्यस्व बताउँछन् । हर्यस्वले दुई सय घोडा दिने, माधवीले एक मात्रै पुत्रको जन्म दिने सम्झौता हुन्छ । सम्झौता पुरा भएपछि आउने वाचासहित गालब बाटो लाग्छन् । माधवीको सुन्दरताले कामातुर राजा सिधै उनलाई शयनकक्षमा लैजाने आदेश दिन्छन् ।
राजाका दासीहरू माधवीको सौन्दर्यको महिमा गाउन थाल्छन् । माधवी विरक्त हुन्छिन् । अजनवी राज्यमा एक अपरिचित पुरुष आफूसँग समागमका लागि आतुर छ । माधवीको मनले यो सहन गाह्रो मान्छ । तर, उपाय पनि त केही थिएन । कामातुर राजा माधवीसामुन्ने उभिन्छन् । माधवी हर्यस्वलाई प्रश्न गर्छिन्, ‘तिमी मेरो सामुन्ने किन छौ ? एक पति, प्रेमी या विजेताका रूपमा ?’ माधवीको प्रश्नले नाजावाफ बन्छन् राजा । र, आँखा झुकाउँछन् । आफ्नो भाग्यमा शासन गर्न उभिएको सम्राट्लाई कम–से–कम प्रश्न गर्छिन् । देहभन्दा पर अरू कुनै अस्तित्व छ भन्ने बोध गराउँछिन् ।
पत्नी वा प्रेमीका दुवै नमाने पनि माधवीको स्थान उँचो रहने हर्यस्व भन्छन् । उनी सान्त्वना दिँदै भन्छन्, ‘तिमीबाट प्राप्त गरेको सन्तान तिम्रै नामले चिनिनेछन् ।’ माधवीलाई जवाफ चित्त बुझ्दैन । ‘मेरा सन्तान मेरै नामले चिनिएलान् । तर, मेरो अर्थ र अस्तित्व के त ?’
कहीँ कतै कसैसँग नजोडिएरै आफू स्व हुनुको अर्थ माधवीको मनमा जागृत हुन्छ । माधवी आफैं हुनुमा अस्तित्वको सम्पूर्ण अर्थ छ कि छैन ? अस्तित्वको यो चक्रव्यूहमा माधवी परिरहन्छिन् । अयोध्याका राजासँगको सम्झौता पूरा भएपछि गालब अयोध्या आउँछन् । माधवीले राजालाई पुत्र दिइन् । राजाले गालबलाई दुई सय घोडा दिए । सौदाबाजीको मौन साक्षी छिन् माधवी । भन्छिन्, ‘जाँदाजाँदै मेरो सन्तानलाई एक पटक छुन दिनुस् । मेरो शरीरको सबैभन्दा सुन्दर हिस्सा छाडेर जाँदै छु । एक पटक दूध पिलाउन दिनुस् ।’ उनको विलाप कोही सुन्दैन । दूध भरिएको छाती, प्रेमले भरिएको हृदय ! सन्तानलाई अन्तिम पटक हेर्नसम्म नपाएको अपार दुःख ! माधवीको हृदय दुःखको सागर बन्छ ।
भारी हृदयमा गरिरहेको कठिन यात्रा । दिन ढल्छ । रात आउँछ । गालब मस्त निद्रामा छन् । माधवीको मनोदशासँग उनलाई मतलबसम्म छैन । आफूमाथि भइरहेको यो अन्यायको चोट कहने साथी पनि छैन । माधवी आकाशतिर हेर्छिन्, पीडाको जवाफ माग्छिन् । आकाश मौन छ । उनी धर्तीतिर फर्किन्छिन् । धर्तीमा सन्नाटा छ । तीनै लोकसँग माधवीले सहेको अपमान र अन्यायको जवाफ छैन ।
मस्त निद्रामा भएका गालब उठ्छन् र माधवीलाई सान्त्वना दिन्छन्, ‘पीर नगर । काशीका राजा भद्र छन् । अब तिमी उनै राजाको सन्तानको आमा बन्नेछौ ।’ गालबलाई आफ्नो लक्ष्यमा पुग्नु छ । माधवीको सुन्दर देह उनका लागि माध्यम मात्रै हो । माधवीको कुमारी सौन्दर्यको व्यापार गर्न हिँडेको देहव्यापारी गालबलाई लाग्छ– उनी पुण्यको काम गर्दर् ैछन् । महागुरुका महान् चेला बन्नेछन् । अहो ! यो कस्तो मक्किएको महानता ।
सन्तान–प्रेमले आल्हादित बनेकी माधवीको दुःखले गालबलाई छुँदैन । उनको यो बेपरवाह स्वभाव देखेर माधवी झनै गहिरो दुःखमा पर्छिन् । गालबलाई सोध्छिन्, ‘तिम्रा गुरुले इन्कार गर्दागर्दै पनि तिमीले गुरुदक्षिणाको लागि हठ गर्‍यौ । तिम्रै जिद्दी पूरा गर्न उनले यो दुर्लभ माग गरे । तिमी यो सबै पूरा गर्न मेरो शरीरको प्रयोग गर्दै हिँड्दै छौ । हे ब्राह्मण, आफूलाई पाप र धर्मको ज्ञाता मान्छौ । यो तिमी जे गरिरहेछौ पाप हो या हो पुण्य ?’ नसोचेको प्रश्नको उत्तर गालबसँग हुँदैन । उत्तर नहुनुमा उनलाई फिक्री पनि छैन ।
एक स्त्री के चाहन्छे ? कोही यस्तो पुरुष होस, जो उसलाई उसकै स्वभाव र स्वरूपमा अपनाओस् । दैहिक वासनाभन्दा माथि उठेर उसको व्यक्तित्वसँग सम्पूर्ण प्रेममा परोस् । माधवीको भाग्यमा यो सबै कहाँ ? उनका कठिन बाटाहरूको अन्त्य कहाँ ? माधवीको परीक्षा सकिएको छैन । कठिन यात्रा अझै बाँकी छ ।
गालबले माधवीलाई अरू दुई राजाकहाँ पुर्‍याउँछन् र ६०० घोडा जम्मा पार्छन् । उनको लक्ष्य अझै प्राप्त भएको छैन । लोकमा अब को राजा खोज्ने, जसबाट बाँकी एक सन्तान प्राप्त होस् र अरू दुई सय घोडा जम्मा होऊन् ?
गालबको भेट हुन्छ मित्र गरुडसँग । गरुडले माधवीलाई गुरु विश्वामित्रकहाँ पुर्‍याउने सल्लाह दिन्छन् । गालब आश्चर्यमा पर्छन् । त्यस्ता महान् गुरुले सुन्दरी भोग गरेर सन्तान जन्माउलान् ! संकोच मान्दै गालब विश्वामित्रकहाँ पुग्छन् ।
माधवीको तेजले विश्वामित्रको आँखा तिलमिलाउँछ । उनको तपस्याको सिंहासनमा पहिरो जान्छ । विश्वामित्रको तपस्या माधवीको सौन्दर्यमा पराजित हुन्छ । गुरुभेटका रूपमा परमसुन्दरी पाएका विश्वामित्रको लोभ जागेर आउँछ । चारवटै पुत्रको पिता आफू बन्न नपाएकामा पछुतो व्यक्त गर्छन् । गुरुको यो चाला गालबका लागि मुक्तिको मार्ग बन्यो । गुरु–ऋणबाट हल्का भएका गालब माधवीलाई गुरु चरणमा अर्पेर आफ्नो बाटो लाग्छन् । मौन छिन् माधवी । आतुर छ– विश्वामित्रको कामवासना । ढोंगी तपस्याको कर्कस छ ध्वनि ।
पितालाई ब्राह्मण–ऋण चुकाउनु थियो, माधवीलाई प्रतिष्ठाको जुवामा लगाए । गालबलाई गुरु–ऋण चुक्ता गर्नु थियो, सौन्दर्यको बजार खोजी डुले । सौन्दर्यको बजारमा माधवीलाई बेचिनु मञ्जुर थियो/थिएन, यो जान्नु कसलाई के खाँचो ?
राजाहरूलाई तेजस्वी सन्तानको पिता हुनु थियो । पुत्र प्राप्तिका लागि माधवीको कोख प्रयोग गरे । ऋषिसमेत दैहिक सौन्दर्यको मोहबाट मुक्त हुन सकेनन् । माधवीको भागमा न प्रेमीको चोखो प्रेम पर्‍यो, न सन्तानको बात्सल्य । जहाँजहाँ सन्तान जन्माइन् त्यहीँ छोड्दै हिँडिन्् । माधवीबाट जसले जे चाहन्छन् त्यही लिए । माधवी के चाहन्छिन् आफ्ना लागि ? यो कसैले सोधेन । लोकमै भाग्यमानी मानिएकी तेजस्विनीको भाग्यमा यो कस्तो ग्रहण ? यो कस्तो रुग्ण परिभाषा स्त्री शौभाग्यको ? स्त्री हुनु के हो ? सम्पूर्ण व्यक्तित्वको अर्थ के हो ? माधवीको यात्रा कठिन छ । खोजी निरन्तर छ ।

अन्तहीन परीक्षा
विश्वामित्रसँग पनि माधवीको सम्झौता पूरा हुन्छ । गालब सर्तबमोजिम माधवी फिर्ता लिन आउँछन् । यायातीलाई माधवी जिम्मा लाएर उनी पूर्ण मुक्त हुन चाहन्छन् । माधवीको सौन्दर्य फिका हुँदै थियो । गालामा चाउरी पर्दै थियो । प्रत्येक पटक पुत्र प्राप्त गरेपछि पुनः जीवित हुने उनको रूप र कौमार्यप्रति माधवीको मोह बाँकी छैन । उनी चाहन्थिन्– जस्तो अवस्था छ त्यस्तै रहोस् । झोलिएको आफ्नो शरीरमै अस्तित्वको खोजी गर्न थाल्छिन् माधवी । कम–से–कम सुन्दरताको तेज हराएको शरीरमा अब कुनै कामातुर पुरुषले नजर गाड्ने छैन । कामवासनाको कमसल धागोले बाँधिएको स्त्री–पुरुष सम्बन्ध अब उनलाई मन्जुर छैन ।
माधवीलाई लिन आएका गालब भन्छन्, ‘माधवी तिमीले आफ्नो कर्तव्य राम्रो निर्वाह गर्‍यौ । अब तिमीलाई म स्वतन्त्रता दिन चाहन्छु ।’ माधवीलाई गालबको यो मनोमानी सह्य हुँदैन । गालबले आफ्नै मर्जीले दिएको बन्धन र स्वतन्त्रताको अर्थ माधवीलाई चित्त बुझ्दैन । उनी स्वतन्त्रताको परिभाषा खोज्छिन् । गालबसँग आँखा जुधाएर भन्छिन्, ‘यो कस्तो स्वतन्त्रता ? आफ्ना सन्तानहरूको प्रेमबाट स्वतन्त्रता ? तिम्रो निष्ठुरताको बावजुद तिमीलाई मैले जुन प्रेम गरें, त्यसबाट स्वतन्त्रता ? मलाई यो मन्जुर छैन । गालब तिमी मलाई आफ्नो प्रेममा बाँधेर राख ।’ माधवीको यो अनुग्रहलाई गालब एक झट्कामै इन्कार गर्छन् ।
गुरुसमक्ष भेटीका रूपमा चढाएकी माधवीलाई गुरुआमाको संज्ञा दिन्छन् । माधवीलाई प्रेमिका होइन, अभियानको एक साझेदार मात्रै भएको बताउँछन् । माधवीको संसारमा अर्को भूकम्प जान्छ । भूकम्पको भुमरीबीच माधवी टक्क उभिन्छिन् । उनी सोध्छिन्, ‘के हाम्रो जीवन तिमीहरूको अभियानमा साथ दिनका लागि मात्र हो ? कथित लक्ष्य र कृत्रिम महानताको मात्रै मूल्य छ ? हाम्रो भावना र प्रेमको कुनै अर्थ छैन ?’
झूटो महानतामा रमाइरहेको गालबसँग माधवीका प्रश्नको उत्तर छैन । उनी माधवीलाई कर्तव्यपालन गरेकी एक त्यागी महिलाका रूपमा बखान गर्छन् । बखान गर्छन् माधवीको भाग्य र सौन्दर्यको । माधवी चार चक्रवर्ती राजाहरूकी आमा हुनुको गर्वबोध गराउन खोज्छन् ।
माधवीलाई यी सबै कुरासँग अब कुनै मतलब छैन । चासो छैन उनलाई आफूमाथि थोपरिएको कर्तव्यको बोझसँग पनि । कहीँकतै कसैसँग नजोडिएर आफैंमा आफ्नो अस्तित्वको ब्रह्माण्ड खोज्छिन् माधवी । पुत्री, पत्नी र आमाको खोल नओढीकनै स्वयम् आफूमा सृष्टिको सम्पूर्ण रूप भेट्टाउन चाहन्छिन् उनी ।
माधवीले अनेकौं पुरुषका लागि गरेको त्यागको बहीखाता राख्नेछ इतिहास । गर्नेछ हिसाबकिताब । भन्नेछ उनलाई महान् । उनका चार प्रतापी सन्तानको महिमा गाउनेछ । एक युवतीले के चाहेकी थिइन् यो कसले लेख्नेछ ? उनको छातीमा पलाएको कुमारी प्रेमको लेखिनेछैन कथा । सन्तानको मायाले छाती पोल्दै हिँडेको तडपमा इतिहास मौन बस्नेछ ।
के इतिहासले माधवीले बगाएका आँसुका थोपाहरूको हिसाब राख्नेछ ? राख्दैन । यो कपटी छ । ऊ महिलालाई महान् र त्यागीको बिल्ला भिराएर गुफाभित्र कैद गर्न चाहन्छ । उसका सारा भावनालाई अँध्यारोमा विलीन गराउन चाहन्छ । माधवीलाई यो मान्य छैन । हुनु छैन उनलाई महान् आमा र त्यागी प्रेमीका । लेख्नु छ उनलाई आफ्नै इतिहास ।

स्वतन्त्र राज्यको निर्भय साम्राज्ञी
माधवीको स्वअस्तित्वको खोज सकिएको छैन । उनको यात्राको अर्थ फेरिएको छ ।
पितालाई ऋणमुक्त गराएर कर्तव्यको यात्रा पूरा गरिन् । आफूलाई
ब्राह्मण–ऋणबाट मुक्त गरेकी छोरीलाई कुनै शक्तिशाली राजासँग बिहे गरिदिने राजा यायातीको चाहना हुन्छ । उनी पुत्री बोझबाट मुक्त हुन चाहन्छन् ।
यायातीको दरबारमा विशाल स्वयंवरको आयोजना हुन्छ । लोकका शक्तिशाली राजाहरू दरबारमा हाजिर छन् । भव्य शृंगारमा छिन् माधवी । उनी झुकेका नजरले राजाहरूको आँखा नियाल्छिन् । वासनाले टम्म छन् राजाहरूका नयन । स्वयंवरका एक–एक प्रस्तावकलाई उनी उभिएर प्रश्न गर्न थाल्छिन्, ‘तपाईं मेरो प्रेमीको रूपमा हात माग्न आउनुभयो या मेरो रूपको वासनाले घायल भएर ?’ चारै दिशाबाट आएर उभिएका राजालाई माधवी यही प्रश्न गर्छिन् । राजाहरूको नजर झुक्छ । माधवीका पिताको छट्पटी चुलिन्छ ।
माधवीको संकल्प दृढ छ । प्रस्ट छन् उनका प्रश्न । आफ्ना पिता लगायत सबै राजालाई उनी फेरि प्रश्न गर्छिन्, ‘के स्त्री उपभोग गरेपछि मिल्काइने वस्तु हो ? उसको स्वअस्तित्व हुँदैन ? महिला र पुरुषबीचको सम्बन्धको प्रतिबद्धता हुँदैन ?’ निरुत्तर पिता र राजाहरू । चकमन्न हुन्छ दरबार ।
माधवी पितासँग आँखा जुधाउँछिन् र भन्छिन्, ‘तपाईंहरू सबै मिलेर मेरो प्रारब्धमा शासन गर्नुभयो । अब म कुनै पुरुषलाई आफ्नो रक्षकका रूपमा स्वीकार गर्न सक्दिनँ । मेरो जीवनको निर्णय गर्ने अधिकार म कसैलाई दिन्नँ ।’ माधवी आफ्नो स्वतन्त्रताको रथको लगाम आफ्नै हातले समाउँछिन् । मालिक बन्छिन् उनी आफ्नो स्वतन्त्र साम्राज्यको । दरबारमा उभिएका एक–से–एक वैभवशाली, शक्तिशाली राजाहरू माधवीको तेजका सामुन्ने निरीह बन्छन् ।
आफ्नो जीवनमाथि शासन गर्ने शक्तिशालीहरूको तागत खोसेर एकपलमा माधवी बनिन् शक्तिको स्वसाम्राज्य ।
दरबारले कृपा गरिदिएको सारा वैभव र सुरक्षा माधवीका लागि अब
ढुंगा–माटोसरि भयो । निर्भयताको उज्यालोले धपक्क बलेकी माधवी दरबार होइन जंगल रोज्छिन् । देखावटी वैभव होइन, हृदयको सुख रोज्छिन् । छोडेर राज्य मोह एकै झट्कामा माधवी जंगल प्रस्थान गर्छिन् ।
शक्ति, प्रेम र सुरक्षाको खोजीमा छैनन् अब उनी । स्वतन्त्रता र निर्भयताको उनको आफ्नै साम्राज्य छ । शक्ति उनको पाउमा हाजिर छ । अस्तित्वको खोजीमा रुमल्लिएकी माधवी अब केवल पात्र होइनन् । उनी हुन् अस्तित्वको स्वब्रह्माण्ड । आफैं परिभाषा हुन् युगको । एक अद्भुत र अपूर्व परिभाषा । युगले हार खानैपर्छ उनको विजयमा ।

 

Page 10
कोसेली

गल्लीको ल्याम्पपोस्ट फुटाउने त्यो केटो

- कान्तिपुर संवाददाता


भनिन्छ, ब्राजिलियनका नसामा रगत होइन फुटबल बग्छ । सायद ह्याट्रिक शब्द फुटबलकै लागि बनेको हो । तीन पटक विश्वकप फुटबल जितेर ह्याट्रिक गर्ने एक मात्रै खेलाडी हुन्– पेले । कतारमा जारी विश्वकप फुटबलको सन्दर्भमा पेलेको अटोबायोग्राफी ‘माई लाइफ एन्ड द ब्युटिफुल गेम’ को एक अंश :
पेले
(अनुवाद ः सुमनराज ताम्राकार)

मैले व्यावसायिक फुटबल करिअर ब्राजिलकै सान्तोस क्लबबाट थालेको थिएँ । भिला बेल्मिरो घुम्न आएको स्विडेनको एआईके क्लबविरुद्ध खेल्न मेरा प्रशिक्षक लुलाले मलाई पहिलोपटक सान्तोसको प्रथम टोलीमा संलग्न गराएका थिए । जिटो, पेपे र अन्यसँग खेल मैदानमा दगुरिरहँदा मैले अनौठो महसुस गरें । खासमा यो अन्य अभ्यास खेलजस्तै लाग्यो ।
१५ जुन १९५८ गोटेवर्ग, स्विडेनको न्या उल्लेभी रंगशाला चिच्याइरहेका रसियाली दर्शकले भरिपूर्ण थियो । उनीहरू सोभियत संघले भिडन्तको तेस्रो खेलमा ब्राजिललाई ध्वस्त पारी जुल्स रिमेट ट्रफी (विश्वकप) जितेको हेर्न आएका थिए । रसियनहरूको खेल हेर्न विश्वभरिका पत्रकार पनि उत्सुक थिए । रसियनले पहिलो पटक विश्वकपमा प्रवेश पाए पनि सबै उनीहरू जितेको हेर्न चाहन्थे ।
ब्राजिलले पनि जित्न सक्छ भन्ने कसैले सोचेकै थिएनन् । पहिलो खेलमा हामीले अस्ट्रियालाई एकविरुद्ध तीन गोलले पराजित गरेको सत्य हो । त्यति सजिलै जित्न पाएकोमा हामी भाग्यमानी थियौं, तर कमजोर इङ्लिस टोलीसँग गोलरहित बराबरीमा खेल टुंग्याउन सक्यौं । रुसी टोलीमा लेभ यासिन, नेट्टो र सिमोनियन खेलाडी भएकाले हाम्रा लागि त्यो फलामको च्युरा साबित हुने विश्वास गरिएको थियो । दुवै टोलीका खेलाडी दौडेर खेल मैदानमा आउँदा विशाल भीडले ब्राजिली खेलाडीबीच कालो वर्णको दुब्लो सानो केटालाई हेरिरह्यो । उसले ठूलो दस नम्बर लेखिएको पहेँलो टिसर्ट लगाइरहेको थियो । त्यो सानो केटो म थिएँ– पेले ।
त्यो सानो केटोलाई विश्वकपमा खेल्न अनुमति दिइएकामा केही दर्शक निकै रिसाइरहेका थिए । अन्यलाई चाहिँ मज्जा लागिरहेको थियो किनकि पूरै ब्राजिली टोली कलिलै थियो भन्ने सबैलाई थाहा थियो । जब मैले खेल मैदानमा
आफ्नो स्थान लिएँ, यी सबै सत्य हुन् भन्ने पत्याउन गाह्रो परिरहेको थियो । म स्विडेनमा ब्राजिलको टोलीमा, रुसविरुद्ध विश्वकपको महत्त्वपूर्ण खेल खेल्दै छु भन्ने कुरा सपना मात्रै हुन सक्थ्यो । विश्वास गर्न सकिरहेको थिइनँ ।
सम्झना छ, विश्वकप खेल्न ब्राजिली टोलीमा मलाई छनोट गरिएको त्यो शनिबारको दिन थियो । म करिब एक वर्षदेखि सान्तोसका लागि खेलिरहेको थिएँ । र, राम्रो खेलिरहेको थिएँ । वास्तवमा साओ पाउलो राज्यभरिमा बत्तीस गोल गरी उच्च गोलकर्ता भएको थिएँ, तर स्विडेन जाने टोलीमा छनोट हुन्छु भन्ने मैले वास्तवमै सोचेको थिइनँ । त्यसबेला म सोह्र वर्षको मात्रै थिएँ । त्यतिबेला ब्राजिलमा धेरै अनुभवी र खतरनाक खेलाडीको कमी थिएन ।
त्यो दिन रेडियोमार्फत विश्वकपमा सामेल हुने खेलाडीको नामावली प्रसारण हुने दिन थियो । म बाउरुमा परिवारकहाँ घुम्न गइरहेको थिएँ । सबै घरमै हुनुहुन्थ्यो, म निहुरिएर रेडियो सुनिरहेको थिएँ । मेरो नाम प्रसारण हुनेछैन भन्ने मलाई थाहा थियो । तर, रेडियोको एउटा शब्द पनि छुटाउन चाहन्नथें । यदि नामावलीमा मेरो नाम नभए म रुनेछैन र भित्तामा टाउको ठोकाउने छैन भन्नेमा दृढ निश्चिन्त थिएँ । मेरो नाम पनि हुन सक्छ भन्ने निश्चय नभए पनि विश्वकप टोलीमा पर्छु कि भन्ने झिनो आशा त गर्न सक्थें, सक्दिनँ त ? नाम पढ्न सुरु भयो । मुटुको धड्कन बेतोडले बढ्न थाल्यो, सोच्नुस् त त्योबेला मेरो हाल कस्तो भयो होला ?
कास्टिल्हो... गिल्मर... दिजाल्मा सान्तोस... निल्टन सान्तोस... माज्जोला...पेले... उक्त सूची पुनः नदोहोर्‍याएसम्म यो सत्य थियो भन्ने मैले विश्वासै गर्न सकिनँ ।
आमा दौडेर मेरो कोठामा आउनुभयो र मलाई हेर्नुभयो– ‘तिमीलाई के भयो दिको ? सन्चो छैन कि क्या हो ?’
‘आमा, म ब्राजिलको टोलीमा तालिमका लागि छनोट भएँ ।’ ‘खै तिम्रो निधार छाम्न देऊ,’ दोना सेलेस्टेले भन्नुभयो, ‘तिमी सन्चो देखिएका छैनौ ।’
सूचीमा परेका अरू खेलाडीसँग महिनौंसम्म तालिम लिइसकेपछि पनि म स्विडेन जान पाउनेमा निश्चिन्त थिइनँ । हामी सबैलाई सैतानलाई जस्तै तालिम दिइएको थियो र घोडाले जत्तिकै कडा परिश्रम गर्नुपर्थ्यो । टोलीको जीवनका लागि हामीले व्यक्तिगत जीवनको पर्वाह गरेका थिएनौं र हामी परिवारजस्तै बसेका थियौं । उक्त परिवारमा केही आघात पर्न गइरहेको थियो किनकि केवल बाइस जना खेलाडी स्विडेन जान पाउने थिए र हाम्रा प्रशिक्षक भिसेन्टे फिओलाले कुन–कुन खेलाडीको टोलीले सबभन्दा राम्रो तरिकाले खेल्न सक्छ भन्ने निर्णय गर्नुपर्थ्यो ।
डाक्टर पाउलो मचाडो दी कार्वाल्हो (ब्राजिली टोलीका व्यवस्थापक) ले हामी सबैलाई बोलाउनुभयो र टोलीमा छनोट नभएका खेलाडीको सूची पढ्न थाल्नुभयो । मेरो नाम लिइएन । एकै छिनका लागि मलाई आश्चर्य लाग्यो र टोलीमा बाँकी रहेका खेलाडीको नाम एकपल्ट पढिदिए हुन्थ्योजस्तो लाग्यो । त्यसपछि म साँच्चिकै टोलीमा छनोट भएको महसुस गरेँ । कति खुसी भएँ भन्ने व्याख्या गर्न सक्दिनँ, तर जब मैले ती हटाएका नाम हेरें मेरो सोचाइमा परिवर्तन आयो । तिनीहरूमध्ये धेरैजसो रुन थालेपछि, तिनीहरू घर फर्किन बस चढ्दा हामीमध्ये कसैलाई पनि कसरी बिदाइ गर्ने भन्ने साहस आएन, मुटु ढक्क फुलेर आयो ।
तर, मेरो आफ्नो समस्या सुरु भयो । स्विडेनका लागि उड्नु केही दिनअघि साओ पाउलोको कोरिन्थियान्सविरुद्धको अभ्यास खेलमा मलाई छिर्की हानियो र घुँडामा चोट लागेको थियो । अनि खेल मैदान छाड्नुपरेको थियो । केही दिनपछि टोलीको डाक्टर, डा. गोस्लिङ र मारियो अमेरिकोले मेरो घुँडाका लागि बलबुताले भ्याएसम्म सक्दो प्रयास गर्नुभयो । युरोपका लागि उडेको हवाइजहाजमा म पनि थिएँ । इटालीको इन्टरनेजिओनेल र फिओरेन्टिनाविरुद्धको दुइटा मैत्रीपूर्ण खेलमा हामीले जित्यौं । पूरै टोली एउटा ठूलो सुखी परिवारजस्तै थियो । घुँडाको चोट निको नभएकाले मचाहिँ निराश हुँदै गएको थिएँ ।
स्विडेनका लागि इटालीबाट उड्नुअघि मैले डा. गोस्लिङकहाँ गएर सोधें– ‘मलाई किन ब्राजिलमा फिर्ता पठाउँदैनौ ? जसले गर्दा मेरो ठाउँमा अर्को खेलाडी ल्याउन सकियोस् ।’ म खेल्न सक्षम हुन्छु भन्ने उहाँलाई अझै विश्वास थियो । इटालियालीहरूसँगको खेलमा पेपे र डीडीहरूको घुँडामा पनि चोट पुग्यो । प्रत्येक दिन मारियो अमेरिको हाम्रा आँखाबाट धरधरी आँसु बग्नेगरी घुँडावरिपरि तातो पानीमा डुबाइएको रुमाल कसिलो तरिकाले बेर्थे । प्रत्येक दिन डाक्टर मेरो घुँडा जाँच्थे र राम्रो हुँदै आएको जनाउ दिन्थे ।
तर, जब अस्ट्रियाविरुद्धको पहिलो विश्वकप खेल आयो, म अझै खेल्न असमर्थ थिएँ । इङ्ल्यान्डविरुद्धको खेलमा खेल्न अनुमति पाइनँ र त्यसपछि मैले पूरै आस मारिसकेको थिएँ । तर, एक दिन डा. गोस्लिङले मलाई जाँचिसकेपछि भन्नुभयो, ‘तिमी खेल्न सक्छौ ।’ त्यो मेरो लागि शुभ दिन साबित भयो ।
रुसमाथिको विजय
म अहिले खेल मैदानमा छु । रुसी खेलाडी त्यही मैदानमा हाम्रो विपक्षमा उभिइरहेका थिए । निश्चय पनि यो सपना थिएन । तिनीहरूका प्रत्येक खेलाडी हामीभन्दा अग्ला देखिन्थे । गोलरक्षक यासिन त पूरै गोलपोस्ट ढाकिरहेका देखिन्थे । म सोच्थेँ उसलाई छक्याई गोलपोस्टभित्र बल छिराउनु असम्भवै छ । अग्रपंक्तिमा मलगायत जगालो, भाभा, डीडी र गरिन्चा थियौं । मध्यपंक्तिमा निल्टन सान्तोस र जिटो । पछाडि रक्षापंक्तिमा हाम्रो क्याप्टेन बेलिनी, ओर्ल्यान्डो, दी सौर्दी र गोलरक्षकमा गिल्मर ।
‘ठीक छ,’ जिटो सकेसम्म चर्को स्वरले कराए, ‘तिनीहरूलाई छक्क पारौं है ।’ उसको पछाडि बसेका भाभाले केही नबुझेझैं ओठ लेप्राए, ‘तिमीले के भन्न खोजेको ?’ उनले भने, ‘तिनीहरू हामीलाई हराउन गइरहेछन् ।’
तर जब सिठ्ठी बज्यो, मैले यी सबै ठट्टा बिर्सें, सबै चेतना गुमाएँ, सबथोक । थाहा भएअनुसार, म राम्रो खेल खेलिरहेको थिएँ, जुन मैले अपेक्षा गरेको थिएँ र जित्नु नै सबै कुरा थियो । केही मिनेटपछि गरिन्चाले रुसी रक्षापंक्तिको कमजोरी भेट्टाए । उनले तीन जना रक्षापंक्तिका खेलाडीलाई तिनीहरू त्यहाँ नभएझैं गरी छलेर लगे र यासिनलाई नाघ्ने गरी कराएर प्रहार गरे । जसै म गोल ऽऽऽ... भनेर ठूलो स्वरले कराएँ, बल बारमा ठोक्किएर खेल मैदानमै फर्कियो ।
रुसीहरूका लागि यो खेल त्यति सजिलो छैन भन्ने दर्शकले तुरुन्तै महसुस गरे । तिनीहरूमध्ये केही अब हाम्रो पक्षमा कराइरहेका थिए । त्यो दिन गरिन्चाले तिनीहरूलाई धेरै पटक चिच्याउने अवसर प्रदान गरे । यही खेलकै लागि जिन्दगीभर पर्खिरहेजस्तो गरी उनी खेलिरहेका थिए । उसका अगाडि रुसी रक्षापंक्ति लाचार भइरहेको थियो ।
त्यसपछि डीडीले एउटा सुन्दर पास मतिर दियो । मैले दुई रक्षकबीच बल दौडाएर लगें । मैले तेज गतिमा दौडिँदादौडिँदै प्रहार गरें र यासिन छक्क पर्‍यो । फेरि एक पटक बल बारमा ठोक्कियो । मेरो घुँडा दुख्न सुरु भए पनि यसबारे चिन्ता लिने फुर्सद थिएन । डीडीको खुट्टामा फेरि बल आयो । म खाली ठाउँमा गई उसको पास पर्खिरहें, तर डीडीले मेरो नजिक पछाडिपट्टि रुसी रक्षक देखे । अतः बललाई भाभा दौडिरहेको अर्को साइडतिर पास दिने प्रयास गरेँ, जहाँ कोही रुसी खेलाडी थिएनन् । र, भाभाले बललाई जालीभित्र छिरायो । यसरी मध्यान्तरसम्म ब्राजिलले एक गोलले अग्रता लियो । मध्यान्तरपछि त्यस्तै किसिमले खेल चलिरह्यो, तर खेल सकिनु केहीक्षण अगाडिसम्म यासिनले हाम्रा अधिकांश प्रहार रोके । यसै क्रममा डीडीले बल पाएपछि मतिरै सीधै पास दियो । मैले गोलपोस्टतिर लगिरहेका बेला रुसी रक्षकहरू चारैतिरबाट मतिर आए । तर, फेरि मैले भाभा एक्लै देखें, त्यसैले उसलाई पास दिएँ । त्यसपछि जे गर्नु थियो उसैले गर्‍यो । यसरी ब्राजिल दुई – रुस शून्य भयो ।
उक्त भव्य विजयपछिको रात म खाटमा पल्टिएँ र पूरै खेल सम्झें, प्रहारमाथि प्रहार, छिर्कीमाथि छिर्की, मैले गोल गर्ने धेरै अवसर गुमाएँ, तर नराम्रोचाहिँ खेलिनँ । बाउरुमा छाएको उत्साहको लहर सम्झिन खोजें । सबै सडकमा निस्के होलान् । पेलेबारे कुरा गरिरहेका होलान् । त्यही केटोबारे, जसलाई हाम्रो गल्लीको सडकबत्ती (ल्याम्पपोस्ट) को सिसा फुटाउनाले हालसालै सजाय दिइएको थियो । तर, मलाई थाहा छ, आज बाउरुका साथै अन्य धेरै ठाउँमा मानिसहरू मेरैबारे कुरा गरिरहेका होलान् । वेल्सविरुद्धको क्वार्टरफाइनलअघि मलाई पत्रकारहरूले एक क्षण पनि एक्लो छाडेनन् । रुसमाथिको विजयपछि हामीलाई विश्व खेलजगत्मा गम्भीरतापूर्वक लिन थालियो र पत्रकारहरूले प्रतियोगिताको सबभन्दा कान्छो खेलाडीप्रति विशेष अभिरुचि देखाए । तर, मेरो विचारमा पत्रकारहरूले हाम्रो निकै प्रशंसा गर्न थाले र हामी बढी मात्तियौं ।
वेल्ससँगको खेल केही पनि होइन, खाली सेमिफाइनलका लागि साधारण तयारी हो भन्ने सोचर हामी फेरि न्या उल्लेभी रंगशालामा फर्कियौं । मध्यान्तरका बेला ड्रेसिङ रुममा हामीले धेरै गल्ती गरेको निर्क्योल गर्‍यौं । हाम्रा प्रशिक्षकले हामीलाई भन्नुभयो– ‘हामीसँग पूर्ण आत्मविश्वास भएकाले हामी मध्यान्तरपछिको खेलमा जित्नेछौं ।’ तर, उहाँहरूमध्ये कसैले पनि हामीलाई वेल्सको फलामजस्तो रक्षापंक्ति कसरी तोड्ने बताउन सक्नुभएन ।
खेल मैदानमा फर्किंदा हाम्रो आत्मविश्वास हराउन थाल्यो । जति खरो रूपमा उत्रन्थ्यौं, त्यति नै धेरै गोलका अवसरह गुमाइरहेका थियौं । हाम्रो प्रहार रोक्न, समाउन, बारमाथि धकेलेर पठाउन केल्से (वेल्स गोलरक्षक) जहाँतहीँ छाउँथ्यो । समय
सकिनै लागेको थियो । खेलको ६६ औं मिनेटमा डीडीले वेल्सको पेनाल्टी क्षेत्रभित्र बल पुर्‍यायो । म अगाडि दौडिँदा उसले मलाई पास दियो । मैले प्रहार गर्न खोजें, तर कसैले छेक्न आयो । मैले बललाई हल्का छोई रक्षकलाई छलाई मेरो बलबुताले भ्याएसम्म प्रहार गरें । मैले प्रहार गरेको बल केल्सेले लडेर रोक्न खोजेको देख्दा मलाई दुःख लाग्यो, तर बल रक्षकको खुट्टामा ठोक्किएर गोलरक्षकलाई नाघेर बिस्तारै जालीभित्र गुल्टिएर पस्यो ।
त्यसपछि गो....ल ऽऽ भनेर बहुलाजस्तै म कति पटक उफ्रिएँ, कराएँ मलाई थाहै भएन । म बच्चाजस्तै रोइरहेको थिएँ । जे भए पनि मैले गरेको उक्त गोल एकदमै भाग्यमानी साबित भयो, जुन म कहिल्यै बिर्सनेछैन । हाम्रो टोलीका लागि त्यो गोल साह्रै महत्त्वपूर्ण थियो । यसरी हामी विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयौं । फ्रान्सविरुद्धको सेमिफाइनलमा मैले ह्याट्रिक गर्न सफल भएँ । र, फाइनलमा आयोजक स्विडेनलाई दुईविरुद्ध पाँच गोलले पाखा लगाई १९५८ मा पहिलोचोटि विश्व च्याम्पियन बन्यौं ।

 

कोसेली

दुःखका अलग रङ

- अनिता पण्डित

 


हाल तादी गाउँपालिकाअन्तर्गत पर्ने गैरी टोलनजिकै तादी खोला र घट्टे खोलाको दोभान छ । दोभान खोलावारिका गाउँहरूको मसानघाट हो । नदी किनारमाथि मूल बाटो नजिकै ढुङ्गाले छाएको एक मरणपाटी थियो । मरणपाटीबाट दस मिटरजति पूर्व बायाँपट्टि एउटा झ्याम्म परेको बयरको घारीसँग टाँस्सिएर झुप्रो बनेको थियो । आफ्ना तीन लालाबालासहित लगभग बगरलाई घर बनाएकी थिइन् जेठी दिदीले ।
जेठी दिदीबारे पहिलो स्मृति त्यही बगरको निवास हो । त्यो पनि उनका पतिले लेकमा कुनै तामाङ पछार्न अर्को तामाङलाई लगाएको गुण तिरेकाले बन्दोबस्त भएको थियो । उनी, उनको कम उमेरकै जेठो छोराको मिहिनेतले र कहिलेकाहीँ गाउँलेको दयाले छाक टार्ने मेसो हुँदै थियो, लेकबाट बेंसी झरेको त्यो दलित परिवारको । उनका पति आवारागिरीमा परिचित थिए । धेरै समय सहर अनि बम्बईतिर जान्छन् भन्ने हल्ला हुन्थ्यो गाउँमा । त्यो हालतमा परिवार छोडेर वर्षौं हराउँथे ।
गरिब तामाङ परिवारमा जन्मिएका कालुमान दाइ सानैमा बेंसी झरेका थिए । ती बालक हली बसे, खेतको काम गरे, भारी बोके, घाँस काटे । उमेर बढ्दै गयो, पिरती पनि गाँसे । विद्रोही पिरती ! गाउँकै तीन बच्चाकी आमा विधवा तामाङ्नीलाई मृङ (पत्नी) बनाए । मृङसँगै काखकी नानी र आफूलाई बासको व्यवस्था गर्नुपर्ने भयो । हाम्रो खेत नबनिसकेको झाडी फाँडेर सुरक्षित बास बनाए । मूल बाटामै थियो उनको बास । त्यही बाटो त्यस समय नुन, तेल, रासायनिक मल ल्याइन्थ्यो । सरकारी कामका लागि बजार र सदरमुकाम जान खच्चड हिँड्ने बाटो पनि त्यही थियो । सानो परिवार धान्न उनले तामाङहरू लक्षित खाजा घर पनि राखे । त्यहाँ मुख्यतः गज्जबको सिलावरको डबकामा जाँड, तमाखु र बिरुवाको ठूलो पातमा थोरै साँधेको भटमास पाइन्थ्यो । मजदुरी गरेर, ढुंगा फोरेर, ढुंगा बोकेर गुजारा चलाउँथे मान्छेहरू ।
जीवनमा मैले सबैभन्दा पहिले चिनेको र लामो संगत गरेको गाउँले सर्वहारा हुन् कालुमान दाइ र जेठी दिदी । हाम्रो बसाइ नजिक–नजिकै थियो । तर, म सानै छँदा जेठी दिदीको त्यो बगरको टहरो र कालुमान दाइको बासबाट उठीबास लगाइयो । कालुमान दाइको घट्ट जेठी दिदीको टहरा नजिकै थियो । एक साँझ घर फर्कंदै गर्दा पानी परेकाले कालुमान दाइ केहीबेर जेठी दिदीको टहरामा ओत लाग्न गएका रहेछन् । श्रीमती गर्भवती बनाएर गायब भएको जेठी दिदीको श्रीमान् रूपलाल दुई वर्षपछि घर फर्कंदा कसैले उनलाई कालुमान ओत लागेको त्यो घटना सुनाइदिएछ । उनको पुरुषत्व जागेर आयो, जुर्मुरिँदै सानी छोरी र श्रीमती घिसार्दै कालुमान दाइको घरमा भित्र्याउने कुरा गर्न थाले । ठूलै खैलाबैला भयो । गाउँका सबै भेला भए । अरू त के हुनु थियो, गरिबीको बोझमा दलिएकी दलित महिला र गरिब तामाङ लहसिएको हल्ला मात्रैले पनि टहरो बनाउन जग्गा दिनेहरूलाई मौका बन्यो । तुरुन्तै जसोतसो मिलेको छतबाट दुवै परिवारलाई छुटाइयो ।
भागेर कुन ठाउँ जानु ? हाम्रो गाउँको पूर्वपट्टिको भिरालो जमिनमा जेठी दिदीलाई गाउँकै एक जनाले टहरो बनाउन जग्गा दिए, पाखो खेती हेर्ने सर्तमा । कालुमान दाइले एउटा प्रयत्न गरे, सार्वजनिक जग्गामा बास बनाउने । उनको कोसिस बेकार बनाइयो । नजिकै सार्वजनिक जग्गामा बास जमाएको बाहुनको टहरोलाई सरकार र समाजले अतिक्रमण ठानेन, तर कालुमानले बनाएको टहरो टिक्न दिइएन । पछि उनी बाध्य भएर मृङको छोराको गोठमा बस्न गए । त्रासदीबीच मृङ बिमारी परिन्, बितिन् । कालुमानले घेवा गरेर उनलाई बिदा गरे ।
त्यसबीच धेरै परिवर्तन भइसकेको थियो । गाउँमा सडक बनिसकेको थियो । धूलाम्मे सडकमा हिउँदमा गाडी आउन थालेको थियो । बिजुली आइसकेको थियो । कालुमानले गर्ने काम पनि थोरै बदलियो । कहिले पानीघट्ट चलाए, कहिले त्यसै छाडिदिए । गाडीमा सामान लोड–अनलोड गर्न थाले । मेलापात गरिरहे । फेरि एक पटक प्रेममा परे । यस पटक पनि विधवालाई नै मृङ बनाए ।
सामान्य खेतालाको लगभग दोब्बर काम गरिभ्याउँथे कालुमान दाइ र जेठी दिदी । उनीहरूको श्रमसँग परिचित स्थानीयले कुनै बेला दुवैलाई बासबाट बन्चित मात्रै होइन बदनामी र अपमानको भारी बोकाए पनि बहिष्कार भने गर्न सकेनन् । कालुमानले हालेको आली सधैं सबैभन्दा अग्लो, खँदिलो हुन्थ्यो । कसैले फोर्न नसकेका ढुङ्गा सहजै फोरिदिन्थे, पिठो पिन्दा ढंग पुर्‍याउनेमा गनिन्थे, इमानदार र लगनशील थिए । जेठी दिदी बल, इमानदारीमा सधैं अघि रहिन् । बस्तीबाट टाढा बसोबास भए पनि बेलैमा मेला पुगिसक्थिन् । कथित भद्रभलाद्मीको समाज, जसले पहिले उठीबास लगाएको थियो, कालान्तरमा जेठी दिदी र कालुमान दाइलाई आरोपमुक्त गर्‍यो ।
श्रीमतीको बदनामी गरेपछि र कान्छी छोरी गर्भमा आएपछि घर छोडेर हिँडेका रूपलाल लखतरान हालतमा घर फर्किए धेरै वर्षमा । केही महिना सामान्य उपचार चल्यो, तर डाक्टरले उनलाई निको नहुने रोग लागेको बताए । घरमै जेठी दिदीले स्याहारसुसार गरिन्, करिब पाँच महिनापछि उनको मृत्यु भयो । जेठी दिदीले किरिया गरेर सालभर जुठो बारिन् । सानै उमेरमा जेठी दिदीका सन्तान काममा जोतिन बाध्य भए, स्कुल जाने उमेरको जेठो छोराले फलाम हुँदै सुन चाँदीको काम सिकिरहेका थिए । सीप हासिल गरेर केही कमाउने भए, बिहेबारी गरे र अन्तै बसाइँ सरे । कान्छो छोराले पनि तामाको काम सिके, गाउँमै काम गर्न थाले, बिहे गरे र पसल गरे । दुवै छोरीको किशोरी अवस्थामै बिहे भयो र आमा बने ।
गाउँमा धर्म परिवर्तनको लहरले जेठी दिदीको परिवारलाई पनि प्रभाव पार्‍यो । सपरिवार धर्म परिवर्तन गरी क्रिस्चियन बने । धर्म परिवर्तन त भयो, तर छुवाछुत र जातीय विभेदको पर्खाल भत्किने सम्भावना थिएन र भत्किएन पनि । छोराहरूले थोरै पैसा जम्मा गरी त्यही पाखामा घडेरी किने, घर बनाए । जेठी दिदीले सधैं खेती मजदुरी गरिरहिन्, भारी बोकिरहिन्, बालुवा चालिरहिन् । अचानक बिरामी पर्न थालिन् । जब डाक्टरी चेकजाँच भयो, तब जेठी दिदीको जीवनले अर्को दुखदः मोड लियो । श्रीमान्ले उनलाई निको नहुने एचआईभी संक्रमण दिएर गएका रहेछन् । उनीमाथि थप बज्रपात भयो । आफ्नै छोरा–बुहारीको घृणाको पात्र बन्नुपर्‍यो । गाउँमा कान्छा छोरा–बुहारीसँगै बसेकी जेठी दिदी जेठो छोरो भएतिर गइन् र केही वर्ष त्यतै रहिन् । उपचारसँगै परिवारमा परामर्श पनि भइरहेकाले बिस्तारै माहोल सहज बन्दै गयो । उनी फेरि गाउँ फर्किइन् र पहिलेजस्तै मजदुरी जारी राखिन् । आज पनि सर्वहारा मजदुरझैं खटिएर काम गरिरहेकी छिन् जेठी दिदी । एड्स पत्ता लागेको आठ–नौ वर्षपछि पनि सक्रिय श्रमिकको दैनिकी उनको बाध्यता बनेको छ ।
जमाना बदलिएको छ । सरकार त दर्जनौं बदलिए । फेरि पनि श्रमिकमारा व्यवस्थामा जेठी दिदी र कालुमान दाइको जिन्दगी भने साँझ–बिहानको जोहो गर्नमै बितिरहेको छ । पहिले जब हाम्रो खेतको गहुँ भित्र्याउन हप्तौं लाग्थ्यो, त्यतिबेला पनि जेठी दिदी मजदुरीका लागि बोलाइने पहिलो छनोटमा थिइन् । अहिले चिसै गहुँ थ्रेसरले भटाभट दुई घण्टामा पेलिदिन्छ, तर खानयोग्य हुने गरी केलाउन जेठी दिदीलाई नै बोलाइन्छ । यद्यपि, जेठी दिदी र हाम्रो परिवारको सम्बन्ध पनि विविधतापूर्ण रह्यो । मेरी आमाले जेठी दिदीको बच्चा पढाउने वातावरण निर्माण लागि केही प्रयत्न पनि गर्नुभयो, तर सम्भव भएन । गाउँमा सँगसँगै काम गर्दा सरसफाइ, स्वास्थ्य र खानपानबारे सजग बनाउन केही भूमिका खेल्नुभयो । श्रीमान्को नागरिकता नबनेकाले उनलाई नागरिकता दिलाउने मेसो मिलाउनुभयो, तर पनि उनीहरूबीचको विभेदको पर्खाल भने सजिलै भत्किन सकेन । ‘जनयुद्ध’ को प्रभाव बढेसँगै र शान्तिसम्झौतापछिका केही वर्षपछिसम्म हाम्रो घरभित्र छुवाछुत भएन बरु समान व्यवहारमा वृद्धि भयो । अफसोस ! प्रतिक्रान्तिको लहरले बिस्तारै–बिस्तारै फेरि सबै कुरा बदलिएको मैले भने पछि मात्र चाल पाएँ ।
भूकम्पपछि कालुमान दाइले थोरै राहत पाए । जग्गा नहुनेहरूका लागि घर बनाउन जमिनसहित बास हाल्न पैसा पाउने नीति थियो । तर, प्रशासनको सर्त र झन्झटकै कारण नीतिभित्र परेका कालुमान दाइले घडेरी पनि पाएनन् । उनीसँग अहिले पनि आम्दानीको स्रोत केही छैन । कमजोर भइसकेका छन्, निःसन्तान छन् । वर्षको केही महिना घट्ट चलाउँछन्, केही महिना सानोतिनो मजदुरी गर्छन् । यसरी कालुमान आज पनि साँझ–बिहान आफ्नै पाखुरीको बलमा बाँचिरहेका छन् ।
हड्डी गलाउने मिहिनेत र इमानको बदलामा यो व्यवस्थाले उनलाई जिन्दगीभर असुरक्षा, अभाव र अपहेलना दिएको छ उपहार । नेपालका सबै निर्वाचन भोगेका उनीहरूलाई पञ्चदेखि कांग्रेस र माओवादीसम्मका अनगिन्ती प्रतिनिधिले हिजो पनि आश्वासनबाहेक केही दिएनन् र आज पनि आश्वासनबाहेक अर्थोक केही दिएका छैनन् ।

Page 11
कोसेली

धरतीले कति मान्छे धान्ला ?

- घनश्याम खड्का

एउटा ब्रेकिङ न्युज दोहोर्‍याऊँ ?
मान्छेहरू आठ अर्ब भए !
एउटा सानो र सरल वाक्यमा टुंगिने यो समाचार सुन्नमा जति सरल छ, गुन्नमा भने उति नै पेचिलो ।
मानिलिनुस्, तपाईंका घरमा पाहुना आए । एकजना आउँदा सत्कारमा कुनै कमी राख्नुहुनेछैन । दुई जना आए कुनै हर्जा छैन, राम्रैसँग खानपान गराउन सक्नुहुन्छ । तर, सय जना आए भने ? त्यो पनि सक्नुहोला रे लौ । हजार जना ? कतै पार्टी प्यालेसतिर लगेर एक दिनका लागि यो पनि झेल्न सकिएला रे भनौं । लाख वा करोड वा दस करोड भए भने सत्कार त के नमस्कार पनि गर्न सक्नुहुन्न तपाईं । ‘अतिथि देवो भव’ भन्ने श्लोकदेखि डर लाग्छ तपाईंलाई । यतिका पाहुनालाई घरमा बास दिने त कल्पना नै हुँदैन, सुबिस्ताका लागि पूरै सहर वा देशमा पनि राख्न सकिन्न ।
तपाईंका ठाउँमा गृहपतिलाई पृथ्वी हुन दिनुस् एकै क्षणका लागि । यो विश्व ब्रह्माण्डमा विज्ञानको आजसम्मको खोजले जीवन पृथ्वीइतर कहीँ कतै पाइएको छैन । यहीँ पनि बडा निर्जन थियो सृष्टिको सुरुवाततिर भन्छ विज्ञान । सारा जीवनको गृहपति पृथ्वीको उमेर ४ अर्ब ६० करोडको छ । यतिका संख्याको कुनै कुरा गन्न मात्रै परे पनि मनुष्यको आयु सकिन्छ । तर, तेह्र अर्ब ७० करोड आयु भएको ब्रह्माण्डका अघिल्तिर यो निकै कम हो ।
ब्रह्माण्ड ९ अर्ब १० करोड वर्षसम्म पृथ्वीबिना नै चलिरह्यो । त्यसपछि हाम्रो गृहपति पृथ्वीको जन्म भयो । त्यसपछि पनि पृथ्वी झन्डै एक अर्ब वर्षसम्म जीवनबिनाको रह्यो । घडी, पला, घण्टा गर्दै दिन, महिना, वर्ष र शताब्दीहरूको हिम शृंखलाजस्तो अग्लो चाङले पनि नपुग्ने लामो समय व्यतीत भएपछि विज्ञान भन्छ, पृथ्वीमा जीवनको उत्पत्ति भयो, एक कोषका रूपमा । त्यसको तीन सवा तीन अर्बभन्दा पनि धेरै वर्षपछि बहुकोषीय जीवको उत्पत्ति भयो । र, त्यसको पनि चालीस करोड वर्षपछि अर्थात् आजभन्दा साठी करोड वर्षअघि जलचरको उत्पत्ति भयो । यो घटनाको ५७ करोड ५० लाख वर्षपछि, माने २५ लाख वर्षअघि मान्छेको आदिम प्रजातिको उद्विकास भयो । ती हाम्रा पुर्खालाई तिनैका सन्तानले पच्चीस लाख वर्षपछि एक नाम दिए, होमो स्यापियन्स अर्थात् बुद्धिमान मानिस (हरारी, स्यापियन्स ः ब ब्रिफ हिस्ट्र अफ हुमनकाइन्ड) ।
साँच्चै नै होमो स्यापियन्सहरू बुद्धिमान थिए ? यो त अनेक तर्कवितर्कको पक्ष भयो । तर, अरू सामान्य जनावरजस्तै बोल्न र संगठित हुन नसक्ने अवस्थाबाट उनीहरू यहाँसम्म आइपुग्दाको यात्रा रोचक र आश्चर्यचकित पार्ने खालको छ । हामी अहिलेका आधुनिक मान्छे सबै त्यो होमो स्यापियन्सका सन्तान हौं, जसको प्रजाति २ लाख वर्षअघि दक्षिण अफ्रिकामा देखा परे । उनीहरू आगो खेलाउन जान्दथे, मासु पकाएर खान सक्थे र सिकार गर्न अरूभन्दा अब्बल थिए । त्यही होमो स्यापियन्स ७० हजार वर्षअघि सोच्न सक्ने भए । भविष्यका घटनाको आकलन, विगतको गल्तीबाट पाठ र समूहमा योजना बनाउन सक्ने खुबीले उनीहरू आफूभन्दा बलिया जनाबरहरूलाई परास्त गर्न सक्ने हुँदै गए ।
अन्ततः उनीहरूले मानिसका अरू प्रजातिहरू होमो इरेक्टस, नियन्डरथल लगायत सबैलाई मारेरै छाडे । यसरी १२ हजार वर्षयता पृथ्वीमा मान्छे जातिका हाम्रै पुर्खाहरूको एकछत्र राज छ, जसकारण दर्जनभन्दा बढी अरू प्रजातिका मानिसको वंशै नाश भयो, हजारौं बोटबिरुवा र जनावर मासिए । अरू त अरू, जंगलको राजा भनिने बाघ र सिंह नै लोप भएर मान्छेले नै संरक्षण गर्नुपर्ने अवस्थामा पुगिसके ।
मान्छेको संख्यामा भने ज्यामितीय बढोत्तरी भइरहेको छ, जो दिन दुई गुना रात चौगुना भनेजस्तो गरी बढिरहेको देखिन्छ । यस्तो हुँदा अब प्रश्न उठ्न सक्छ, यो पृथ्वीले कहिलेसम्म र कतिसम्म मान्छेको बढ्दो चाप थेग्न सक्छ ? बढ्दो जनसंख्या धान्न स्रोतहरूको दोहन गर्दा वातावरणको तीव्र दोहनले पृथ्वी विनाशको संघारमा पुगेको वैज्ञानिकहरूको आकलन छ । त्यसो हो भने त्यो विनाश कहिले हुनेवाला छ ?
‘निकै नै छिटो’ एक दशकअघि ‘बिग थिङ’ भन्ने टेलिभिजन च्यानलको अन्तर्वार्तामा वैज्ञानिक स्टेफन हकिन्सले भनेका थिए, ‘आउने हजार वर्षको कुरा छाडिदिनुस्, सय डेढ सय वर्षमै हामीले पृथ्वीको नाश निम्त्याइसकेका हुनेछौं ।’
उनले यस्तो किन भने ? त्यसका पर्याप्त कारण छन्, जसमध्ये मुल जनसंख्या वृद्धि एउटा हो । अब हामी यसबारे अलिक विस्तारमा कुरा गरौं ।
सत्तरी हजार वर्षअघि दुई/तीन दर्जनको हूलमा हिँड्ने होमो स्यापियन्सको संख्या यो नोभेम्बरमा ८ अर्ब नाघेको घोषणा संयुक्त राष्ट्र संघले गरेकै दिन चार लाख मानिस पृथ्वीमा थपिइसकेका थिए । हरेक दिन चार लाखको हाराहारीमा मानिस जन्मिने उपक्रम एवंरीतले बढ्दै गए सन् २०५० सम्म पुग्दा पृथ्वीको जनसंख्यामा अर्को पौने दुई अर्बले थप हुने अनुमान राष्ट्र संघको छ ।
विश्व जनसंख्या भनेको अहिले बाँचिरहेका मानिसहरूको कुल संख्या हो, जो भनिहालियो, अहिले आठ अर्ब छ । यो संख्या औद्योगिक क्रान्तिपछि रकेटस्तरमा वृद्धि भएको देखिन्छ । हालसम्मको अध्ययनले के देखाएको छ भने मानव जनसंख्या एक अर्ब पुग्न दिव्य २ लाख वर्ष लागेको थियो । तर, त्यो आठ अर्ब पुग्न मात्रै २१९ वर्ष लागेको छ (किघ्ट एट अल, द हुमन रेस एट एट बिलियन, एक्सिअस डट कम, १५ नोभेम्बर, २०२२) !
सन् १३५० को आसपास पृथ्वीमा मान्छेहरू जम्मा ३७ करोड थिए । त्यसपछि निरन्तर रूपमा जनसंख्या उकालो लागेको लाग्यै छ । यसका कारणबारे मानव जनसंख्याको फ्रान्सेली जनसंख्याविद् जिआँ नो विराबियाँले एक रोचक अनुसन्धान गरेका छन्, जो ‘एन एस्से कन्सर्निङ म्यानकाइन्स पपुलेसन’ शीर्षकमा सन् १९८० मा प्रकाशित भएको थियो । उनको अनुसन्धानले भन्छ, पृथ्वीमा सन् १३१५ मा दुई वर्षसम्म भयंकर अनिकाल फैलियो । यो अनिकालमा ठूलो संख्यामा मानिसहरू मरे । त्यसपछि १३५० मा महाव्याधिले मानिसहरू भक्राम भए । त्यसपछि भने निरन्तर रूपमा जनसंख्या बढ्दै गइरहेको छ । त्यसयता हरेक दिन, हरेक वर्ष मर्नेको संख्याभन्दा बाँच्नेको संख्यामा तीव्र वृद्धि हुँदै आइरहेको छ ।
पहिलोचोटि सन् १९५५–१९७५ को अवधिमा पृथ्वीमा जनसंख्या दुई दशमलव एक प्रतिशतले बढ्यो, जो अहिलेसम्मकै ‘उच्चतम जनसंख्या वृद्धिदर’ भनेर चिनिन्छ । त्यतिबेला जनसंख्या चार अर्बको हाराहारीमा थियो ।
जनसंख्या विस्फोटले ठूलो समस्या निम्त्याउने बहस त्यतिखेर जोडतोडले भयो । यसलाई रोक्ने अनेक उपायबारे विमर्श हुन थाल्यो । अन्ततः अमेरिकामा गर्भ निरोधक चक्कीको आविष्कार भयो, जसलाई सन् १९६० देखि प्रयोगमा ल्याइयो (क्रिस्टिन मेट्री, हिस्ट्री अफ वरल कन्ट्रासेप्टिभ ड्रग्स एन्ड देयर युजेज वर्ल्ड वाइड, २०१३) । हाल पृथ्वीभर महिलाहरूले खाने ‘पिल’ लाई सुरुवाती दशकमा प्रयोग गर्न पश्चिममा ठूलो अभियान चलाइयो र यसबारे उस्तै प्रतिकारपूर्ण व्यवहारको पनि प्रदर्शन भयो । यही समय मध्यकालदेखि अनेक तरिकाबाट प्रयोगमा ल्याइन प्रयास गरिएको कन्डमको पनि औद्योगिक उत्पादन सुरु भयो । सुरुमा जर्मनीले दोस्रो विश्वयुद्धका समयमा आफ्ना सैनिकहरूका लागि यो एक सुविधाका रूपमा उपलब्ध गरायो । जन्म नियन्त्रण पनि हुने र यौन रोगबाट पनि छुट्कारा पाइने कन्डमले तुरुन्त लोकप्रियता पायो । ‘सेक्स गुरु’ भनेर पश्चिमा संसारमा चिनिएका ओसोले त कन्डमलाई मान्छे जातिको सबभन्दा काम लाग्ने आविष्कार भनेर मुक्तकण्ठले यसको प्रशंसा पनि गरे । किनभने यो नभइदिएको भए प्रत्येक वर्ष पृथ्वीमा एक अर्बले जनसंख्या बढ्ने उनको आकलन थियो, जो आफैंमा सम्हाल्न नसक्ने स्थितिको उदय हुनु हो । यसरी हेर्दा हो पनि, कन्डमले एउटा महामारीलाई चुपचाप रोकिदिएको छ ।
यसरी जनसंख्या एकदमै तीव्र गतिले बढिरहेका बेला पिल्स र कन्डमको संस्कृतिले युरोप, अमेरिकामा परिवार नियोजनलाई प्राथमिकताका साथ अगाडि बढाइयो, जो अब संसारभरका सरकारहरूको एक अनिवार्य कार्यक्रम बनिसकेको छ । ‘उच्चतम जनसंख्या वृद्धि’ को दशकपछि सुरु भएको जनसंख्या रोकथामका प्रयासले के फरक पार्‍यो भने उकालो लागिरहेको वृद्धिदर रोकिएन मात्रै, सन् २०१५ सम्म आइपुग्दा त्यो घटेर १.१ प्रतिशतमा आइपुग्यो । यसो हुनमा ठूलो जनसंख्या भएको देश चीनले सन् १९७९ मा सुरु गरेको ‘वान चाइल्ड पोलिसी’ अर्थात् एक दम्पतीले एउटा मात्रै सन्तान पाउन पाउने नीति पनि मुख्य रूपले जिम्मेवार छ । तर, सबले छोराको चाहना गर्दा र छोरीहरूको भ्रूणमै हत्या गर्दा त्यहाँ केटाहरूको संख्या २० करोडले बढ्ता हुन गयो भने काम गर्ने उमेरका मानिसको पनि उल्लेख्य कमी देखिन थाल्यो । चीनले यो अवस्था अन्त्य गर्न ‘वान चाइल्ड पोलिसी’ को अन्त्य गर्‍यो सन् २०१५ मा । संसारको सबभन्दा ठूलो जनसंख्या भएको देशले जन्मदरमा लगाएको अवरोध हटाएपछि अब आउने दशकमा यसको भिन्न परिणाम देखिने मात्रै होइन, पृथ्वीभर घट्दो बालमृत्यु दर, बढ्दो जनसंख्या, जनस्वास्थ्यका क्षेत्रमा भएको दुर्लभ उपलब्धि र फैलिँदो औसत आयुका कारण पृथ्वीलाई ठूलै भार पर्ने आकलनहरू चर्को रूपले हुन थालेका छन् ।
मानिसहरूले आफ्नो बढ्दो संख्याले आफैंलाई हुने हानिबारे सोच्न थालेको भने आज मात्रै होइन । मध्यकालदेखि नै जनसंख्या वृद्धिले हुने दुष्प्रभावबारे खोजबिन भएको इतिहास छ । बेलायती अर्थशास्त्री, अनुसन्धाता तथा चिकित्सक सर विलियम पेटीले सन् १६८२ मा विश्वको जनसंख्या ३२ करोड हुन सक्ने अनुमान गर्दै यो निकै भयानक अवस्था रहेको औंल्याएको थिए । तर, त्यो संख्या उनले अनुमान गरेभन्दा ठ्याक्कै डबल भएको अहिलेको अुनसन्धानबाट पुष्टि हुन्छ ।
जनसंख्याको बढ्दो ग्राफबारे कुरा गर्दा जबरजस्त रूपमा उठ्ने एउटा प्रश्न हो, कुन विन्दुबाट हाम्रा सदस्यहरू बढ्न थाले होलान् त ? के त्यस्तो कुरा थियो, जसले हजारौं–हजार वर्षसम्म हामी फैलिन सकेनौं ? अनि के त्यस्तो कुरा भयो, जसले केही शताब्दीमै फेरि हामी ‘ढाँडा काँडा ढाक्ने’ भयौं ? यसका लागि समयको अलिक गहिराइमा पुगेर कृषियुगलाई हेर्नुपर्ने हुन्छ, जो दस हजार वर्षअघि सुरु भएको थियो । त्यसबेला मान्छेहरू कति थिए होलान् ? समयसमयमा मानिसको जनसंख्याबारे लेखिएको रोचक पुस्तक ‘डेमोग्राफिक प्रब्लम्स, कन्ट्रोभर्सी ओभर पपुलेसन कन्ट्रोल’ (१९७५०) का लेखक अमेरिकी अनुसन्धाता राल्फ टम्लिन्सनका अनुसार, त्यसबेला दस लाखदेखि डेढ करोडको हाराहारीमा मानिस थिए । सोचविचार गर्न थाल्दाको समय ७० हजार वर्षअघि उनीहरूको संख्या पृथ्वीभर १ हजारदेखि १० हजारको बीचमा हुनुपर्छ भन्ने अनुमान तिनको जीवाशेषको आनुवंशिकीय खोजहरूका आधारमा गरिएका छन् । साठी हजार वर्षसम्म ती होमो स्यापियन्सका सन्तान अर्थात् हाम्रा पुर्खाले घुमन्ते सिकारी जीवन बिताउँदा तिनको संख्या लगभग स्थिरजस्तो थियो । पछि उनीहरूले आफ्ना समकक्षी अरू मानवलाई मारेर सखाप पारेपछि इसापूर्व १२ हजार वर्षको आसपासमा आएपछि भने उनीहरूको संख्यामा बढोत्तरी हुन थाल्यो । कृषियुगको सुरुवातपछि सुरक्षाका प्रबन्ध बढ्यो, भोकमरीले दुःख दिन छाड्यो र परिवारको उदय भएकाले बच्चाहरूको रेखदेखको संस्कृति विकास हुन थाल्यो । यसले गर्दा जनसंख्या बढ्न सघाउ पुग्यो । इसाको चौथो शताब्दीतिर आइपुग्दा तिनको जनसंख्या रोमन साम्राज्यमा मात्रै ६ करोडको हाराहारीमा भएको अनुमान जनसंख्याविद्को छ ।
यर्सिनिया पेस्टिस नामको ब्याक्टेरियाले छैटौं र आठौं शताब्दीमा ज्यादै दुःख दियो । यसले फैलाएको महामारीलाई जस्टिनियाको प्लेग नामले चिनिन्छ, जसका कारण युरोपको जनसंख्या आधाले घट्न पुग्यो । हालसम्मको अभिलेख अनुसार, यसरी ठूलो संख्यामा मानिसहरूको जनसंख्या घटेको यो पहिलो घटना हो । त्यतिबेला युरोपमा मात्रै मानिस ७ करोड थिए । प्लेगले कम्तीमा तीन करोड ५० लाखको ज्यान लियो (नेसनल जियोग्राफिक, २२ जुलाई, २०१३) । महाव्याधिले ल्याएको मृत्युले लगेको यो संख्या पूर्ति गर्न युरोपलाई पूरै २ सय वर्ष लाग्यो । भारतीय महाद्वीप र चीनमा समेत त्यो समय जनसंख्या घटेका प्रमाण छन् । यसलाई अज्ञात मृत्युको कालो समय पनि भन्ने गर्छन् इतिहासवेत्ताहरू । त्यसपछि पनि अनिकाल र महामारीले बेलाबेलामा मानिसहरू ठूलो संख्यामा मर्ने गरेका थिए, जसले गर्दा जनसंख्या पृथ्वीका लागि समस्या कहिल्यै भएन । यसरी ७० हजार वर्षदेखिको कालखण्डमा क्रमशः राज गर्दै आएको मान्छेको संख्या भने एउटा निश्चित, तर छोटो अवधिका बीच तीव्र रफ्तारमा बढ्न पुग्यो । यसको सुरुवात कृषि र औद्योगिक क्रान्तिपछि भएको देखिन्छ । सोह्रौं शताब्दीमा अफ्रिकाबाट पोर्चुगल र स्पेनका उपनिवेशवादीहरूले अमेरिकाबाट एसिया र युरोपमा मकै र कासभा
(तरुलजस्तो देखिने एक खाद्य पदार्थ) भित्र्याए । यसको मनग्यै उत्पादनले ठूलो जनसंख्यालाई अनिकालबाट बचायो । यसबाट मानिसहरू दीर्घजीवी भएको र जनसंख्या बढेको प्रमाणहरू देखिएका छन् (कोलिङ्गम लिजी, टेल अफ कुक्स एन्ड कन्क्विरर्स, २००६, अक्सफोर्ड) । मानिसहरूको विश्वव्यापी रूपमा विस्तार भएको सञ्जाल, खेतीमा आएको सुधार, धान, गहुँ, मकैजस्ता बालीहरूको संसारैभर फैलावटले अनिकालले हुने मृत्युलाई ह्वात्तै घटायो ।
दादुरा, मलेरिया, हैजाजस्ता रोगले विश्वभर महामारी ल्याइरहने हुनाले १८ औं शताब्दीसम्म पनि जनसंख्या वृद्धिले खासै अत्याउन सकेको थिएन । तर, जब यी महामारीविरुद्ध खोपहरू बने, युरोपेली देशहरूमा जनसंख्या
ह्वात्तै बढ्यो । यसरी विश्व जनसंख्या सन् १८०४ मा पहिलो पटक एक अर्ब पुग्न गएको राष्ट्रसंघको अनुमान छ ।
सुन्दा दुई अक्षरको शब्द लागे पनि एक अर्ब सानो संख्या होइन । अलिक होस दिएर सम्झनुस् त, एक अर्ब ! एक, दुई, तीन, चार गर्दै दस गन्नुस् । यस्ता दस दस ठाउँमा पुर्‍याएपछि सय मान्नुस् । सयलाई सय ठाउँमै राखेपछि दस हजार भयो । दस हजारलाई दसै ठाउँमा जोडेपछि लाख भयो । लाखलाई सय पटक थुपार्नुस्, करोड भयो । करोडलाई सय पटक थुपार्नुस्, बल्ल एक अर्ब भयो । गन्न सकिने कुनै कुरा हामीले एकै पटक यतिका संख्यामा देखेकै हुँदैनौं । त्यसैले, गणितीय बुझाइबाहेक एक अर्ब कति हो भन्ने भावनात्मक अनुभूति नै हामीलाई छैन । यो देशभरका मानिस एउटै ठाउँमा उभ्याउँदा पनि तीन करोड पुग्दैन । यस्तो संख्या ३३ पटकभन्दा बढ्दा जोडेपछि बल्ल पुग्छ एक अर्ब । ल भन्नुस्, एक अर्ब के सानो हो ? यति ठूलो संख्या हुनाले नै एक अर्ब जनसंख्या पुग्न अनादि समय लाग्न पुग्यो । तर, त्यसको त्यसको १ सय २३ वर्षपछि सन् १९२७ मा यो संख्यामा अर्को एक अर्ब थपियो । यहाँतिर फेरि गणितीय जोडमा मात्रै नचिप्लिनुस् । एक पटक सास रोकेर तुलना गर्नुस्, अनादि समय भर्सेस १ सय २३ वर्ष । अहो, कहिल्यै हुन नसकेको कुराको दोब्बर परिणाम १ सय २३ वर्षमै ?
कुरा यत्तिमै रोकिँदैन । सन् १९६० मा तीन अर्ब जनसंख्या पुग्न मात्र ३३ वर्ष लाग्यो । जे हुन कहिल्यै सम्भव थिएन, त्यो १२३ वर्षमा भयो । र, त्यो फेरि तेत्तीसै वर्षमा हुन पुग्यो । त्यसपछिको त १४ वर्षमै सन् १९७४ मा मानिसहरूको संख्या चार अर्ब पुग्यो । सन् १९८७ मा पाँच अर्ब पुग्न १३ वर्ष नै काफी थियो भने १९९९ मा ६ अर्ब पुग्न १२ वर्ष कट्न परेन । जनसंख्या स्थिर बनाउने विश्वव्यापी प्रयासका बावजुद पृथ्वीको जनसंख्या ७ अर्ब पुग्न अर्को १२ वर्ष नै काफी भइदियो । संयुक्त राष्ट्र संघका अनुसार, अक्टोबर २०११ मा जनसंख्या ७ अर्ब पुगेको थियो । अर्को एघारै वर्षमा राष्ट्र संघले गत कात्तिकको अन्तिम दिन जनसंख्या अर्को एक अर्बले बढेर ८ अर्ब पुगेको घोषणा गर्‍यो । यही रफ्तारले बढ्दै जाँदा हरेक एक दशकमै जनसंख्या एक अर्बले थपिनेछ । यद्यपि, वृद्धिदर केही कम भएकाले अब एक अर्ब पुग्न १५ वर्ष लाग्ने अनुमान पनि जनसंख्याशास्त्रीहरूको छ । जे भए पनि यो बढ्दो संख्या पालिराख्न पृथ्वीलाई भोजन र पानी पुर्‍याउनै हम्मे पर्नेछ । वातावरणको तीव्र दोहन हुनेछ । स्रोतहरूका लागि चर्को द्वन्द्व हुनेछ, जसले युद्ध निम्त्याउने खतरा ज्यादै बढ्नेछ ।
जाबो तीन करोड ननाघेको हाम्रो आफ्नै जनसंख्यालाई उदाहरण लिऊँ न । बस्ने प्रबन्धका लागि घरहरू बनाउन उब्जनी हुने सबै जमिन सकिन लागिसके । पानीको स्रोत सुक्दै गएकाले सबको गला भिजाउने गरी त्यसको प्रबन्ध गर्न नसक्दा पहाडमा बस्तीहरू रित्ता हुन पुगिसके ।
बढ्दो जनसंख्या चाप थेग्न भएका अतिशय दोहनका प्रयासले पृथ्वीको तापक्रम बढ्दो छ, जसले हाम्रा हिमालहरू पग्लिसके । अब प्रत्येक दस वर्षमा एक अर्ब संख्या थपिँदै जाँदा पृथ्वीको हालत त्यही गृहपतिको हुनेछ, जसलाई एक करोड पाहुनालाई रातदिनै खुवाउनु, पियाउनु छ । एक व्यक्तिका लागि एक करोडलाई खुवाउने प्रबन्ध गर्न असम्भव भएजस्तै एउटा विन्दुमा पृथ्वीका लागि पनि बढ््दो जनसंख्या थेग्न सक्ने हैसियत हुनेछैन । तर, त्यो विन्दु कुन हो ?
यसको उत्तरमा अमेरिकाका जीवशास्त्रीय गणितज्ञ जोएल ई कोहेनको एउटा प्रसिद्ध आलेख छ, ‘हाउ मेनी पिपुल क्यान द अर्थ सपोर्ट’ । उनको खोजले देखाएको छ, पृथ्वीले कति जनसंख्या धान्छ भन्ने पत्तो लगाउन असम्भव छ । किनभने, यसमा जनसंख्याको कस्तो व्यवहार हुन्छ भन्ने पक्षले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
मानिसहरूले स्रोतहरूको दोहन गर्दा वातावरण बिगारेनन् भने, कार्बन उत्सर्जन घटाउन सके भने र दिगो विकासका उपाय पूर्ण रूपले लागू गर्न सके भने यसले अरू धेरै संख्यामा मानिसलाई सुरक्षित आश्रय दिन सक्छ । तर, त्यसो हुन सकेन भने पृथ्वीको आयु यही मात्रामा बढेको जनसंख्याले निकै नै छिटो सक्ने उनको चेतावनी छ, जसमा कसैले पनि असहमति जनाउने ठाउँ छैन ।
यी सबै प्रक्षेपणहरूले के देखाउँछन् भने हामी आसन्न संकटको नजिक छौं । यी आठै अर्बलाई एक मध्यमस्तरको अमेरिकीले उपयोग गर्ने स्रोतसाधन उपलब्ध गराउने हो भने यस्तो १६ वटा पृथ्वी चाहिने वैज्ञानिकको अनुमान छ । अन्तरग्रहको यात्रा सुरुवात गर्नुपर्छ भन्ने अर्बपति इलन मस्कको कम्पनी स्पेस एक्सले नयाँ योजनाहरू ल्याएको धेरै भएको छैन । हालै ट्विटर किनेर ठूलो धनराशि सकेका मस्क अन्तरग्रह बसाइसराइको योजनाले भन्दा बढ्ता आठ डलरमा किन्नुपर्ने ट्विटर ब्याजको प्रस्तावले चर्चामा छन्, जसले उनको सुरुवाती योजना छायामा पारेको भन्दै आलोचनासमेत हुन थालेको छ ।
धर्तीको भार बन्दै गएको हाम्रो संख्याले प्रलय निम्त्याउनुअघि नै मानिसहरू के अन्य ग्रहमा बसाइ सर्न भ्याउलान् ? अथवा, हामी जनसंख्या वृद्धिदरलाई रोक्न सकौंला ? पृथ्वीलाई नस्ट हुनबाट जोगाउन सकौंला ? जीवशास्त्रीय गणितज्ञ कोहेनले भनेजस्तो धेरै हदसम्म यसको उत्तर हाम्रै व्यवहारमा निर्भर गर्छ ।
जनसंख्याको कारण मात्रै नभई ब्रह्माण्डको अरू कुनै पक्षका कारण ‘सिस्टम इरर’ भएर पनि यो ग्रह ध्वस्त हुने अनुमान मनुष्यले धेरै पहिलेदेखि गर्दै आएको छ । हुन पनि संसार अनित्य हुनाले यसै होला भन्न सकिन्न । तर, अहिलेलाई भने नित्यरूपले के भन्न सकिन्छ भने, जनसंख्याको ग्राफ तीव्र रूपले बढिरहेको छ र हामी एक अज्ञात परिस्थितिको सामना गर्दै छौं ।

कोसेली

कारकाँदो तल्तिरकी धम्बोझी

- बालकृष्ण कट्टेल

 


सम्झूासम्झाू लागेको बेला
कसरी सम्झन्छ होला
कारकाँदोले धम्बोझीलाई ?
भेटूँभेटूँ लागेको बेला
कुन बाटो हिँडेर जान्छ होला
धम्बोझी कारकाँदो भेट्नलाई ?
कारकाँदो–धम्बोझीलाई नै लाग्न थालेछ –
आएका सबै सम्झनाले
लागेका सबै रहरहरु मेटाउँदैनन्
हिँडेका सबै बाटोले
चाहेका सबैलाई भेट्टाउँदैनन् Û

सहर उनीहरुको गाउँ नपस्दासम्म
कारकाँदो सुसेल्दै धम्बोझी पुग्थ्यो
धम्बोझी लजाउँदै बाहिर आउँथी
र, दुवै जना टाँगा चढेर एक्लेनी बजार जान्थे
उखुको रस खाँदै गफिएको बेला
उनीहरुलाई आफ्नो भेट
त्यो रसजस्तै गुलियो लाग्थ्यो
पानीपुरी र चनाचटपटे खाएपछि
छुट्ने बेलाको पीडा
पानीपुरीको पानीजस्तै अमिलो लाग्थ्यो Û

नजिकै भएर पनि
भीडले टाढा बनाइदिएको यो बेला
भेटघाट गर्ने बजार पनि हराएका छन्
सवारी र यात्रुको हल्लामा हराएको सहरमा
कुरा गर्ने भाषा र भाका दुवै फेरिएका छन्
कस्तो मान्दो हो कारकाँदो
साइरन र सिठ्ठीको कोलाहलमा
धम्बोझी बोलेको नसुन्दा ?
कस्तो ठान्दी हो धम्बोझी
धूवाँ र धूलोको घारीमा
कारकाँदो हिँडेको नदेख्दा ?

मैले त यी प्रश्न सोध्नै पाइनँ
भेट्नेबित्तिकै कारकाँदो नै भन्न थाल्यो–
‘अस्ति साह्रै याद आयो धम्बोझीको
र, मध्यरातमै भए पनि
निस्किएँ भेट्नलाई
सराब त खाएको थिइनँ
तर, चेकजाँच गर्नेले सोधिल्यायो
मैले बोल्नै लाग्दा आफ्नै जिब्रो लरबरायो
र त्यसैको शंकामा
जाँचकीले सराबी भनिदियो
‘मिसिन’ त लाएन
तर, घर फर्काइदियो

मायाको कुरा लुकाउनुपर्दा
मान्छे पनि मजस्तै हडबडिन्छ हो ?
आफ्नै कुरा भन्नुपर्दा
जिब्रो पनि मेरोजस्तै लरबरिन्छ हो ?
साहेब, मायाको मात नाप्ने
कुनै ‘मिसिन’ बनेको छैन ?
प्रेमको पनि नशा त हुन्छ
तर, त्यसलाई नजाँच्नु भनेर
जाँच गर्नेलाई कसैले भनेको छैन ?’

आफ्नै प्रश्नमा
हराउन थालेपछि कारकाँदो
धम्बोझी पनि बोल्न थाली–
‘हाम्रो गाउँ सहर बनेपछि त
हामीलाई पनि टाढा बनाइदियो
हामी हिँडेरै पुग्ने बाटो
सडकले परै छुटाइदियो
अस्ति त कारकाँदो जान हिँड्या
मैले पनि भन्न बिर्सेंछु
टुकटुकले राँझा झारिदियो
फर्कनलाई रिक्सा लिएँ
पुग्ने बेलासम्म साँझ नै पारिदियो

मायाको भारीले थिचेको बेला
मान्छेले पनि जाने ठाउँ बिर्सन्छ हो ?
माया मात्रै सम्झिन थालेपछि
मान्छेले पनि अरु सबथोक बिर्सन्छ हो ?’
साह्रै पीडा हुन्छ
कोही आउँछ भनेर पर्खेर बसेकालाई कुराउन
साह्रै गाह्रो हुन्छ
कुरेर बसेकाको मन भाँचिएपछि
उनीहरुको मन पहिलेकै जस्तो बनाउन
कारकाँदोलाई पर्खाउनुपर्दा
धम्बोझीको नौनाडी गल्दोर’छ
धम्बोझीको दिल दुख्दा
कारकाँदोको मन पनि हुरहुरी बल्दोर’छ Û
भन्दैथे दुवै जना –
हामीले यो विषयमा
बसेर कुरा नै गरेका छौं
दुवैले आफ्नो मन
राम्रै गरी माझामाझ गरेका छौं
आजकल त हामी
सहर सुनसान हुन थालेपछि मात्रै
एकअर्कासँग कुरा गर्छौं
म म्यासेज लेख्छु
उनी भाइबर गर्छन्
म मन पराएर थम्स् अप गर्छु
उनी इमोजी पठाएर उत्तर दिन्छन्
हल्ला नहुने ठाउँमा मात्रै
मायाको कुरा सुनिँदोरहेछ
कोही नबोलेको बेला मात्र
मायाको कुरा बुझिँदोरहेछ ÛÛ

 

Page 12
कोसेली

मैदान नजिकैबाट

- राजु घिसिङ

 

कतारले अर्बौं डलर लगानी गरेर बनाएको मेट्रो गत सातासम्म खालीखाली नै थियो । चर्को घाम छलेर शीतलमै यात्रा गर्न सकिने भए पनि मेट्रोमा यात्रु नगन्य देखिन्थे । ठूला सहरमा ट्राफिक जाम छल्न र यात्रा सहज बनाउन बढाईएको मेट्रोको गतिलाई कतारमा बसोबास गरिरहेका २७ लाख बढी मानिसले पछ्याउन नसकेको हो कि ?
जम्मा ११ हजार ५ सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको खाडीको सानो देश हो कतार । क्षेत्रफलको हिसाबले विश्वकप आयोजना गर्ने सबभन्दा सानो आयोजक नै कतार बन्यो । चार वर्षअघि रुसमा जस्तो २२ घण्टासम्म रेलको यात्रा गर्नुपर्ने अवस्था नभएकाले कतारमा दैनिक दुई खेलसम्म हेर्न सकिन्छ । १२ वर्षअघि विश्वकप आयोजना गर्ने अधिकार पाएपछि उसको निरन्तर आलोचना भइरहेको थियो । त्यसैले आइतबार सुरु भएको विश्व फुटबलको सबभन्दा प्रतिष्ठित र महत्त्वपूर्ण प्रतियोगिता विश्वकपको २२ औं संस्करणमा कतारको मेट्रो भरिभराउ हुनेमा शंका गरिएको थियो । जब विश्वकप नजिकिँदै गयो तब दोहाले बिस्तारै गति लिन थाल्यो । संसारकै सबभन्दा लोकप्रिय खेलको मुख्य प्रतियोगिता सुरु भएदेखि त मेट्रो पूरापूर भरिभराउ छ ।
पहिलोपल्ट खाडी क्षेत्रमा भइरहेको विश्वकपका खेलहरू दिउसो १ देखि सुरु हुन्छ । खेल सुरु हुनुभन्दा चार–पाँच घण्टाअघिदेखि नै मेट्रोमा यात्रा गर्न र सिट पाउन मुस्किल भइरहेको छ । दिनको अन्तिम खेलपछिको अवस्था पनि त्यस्तै छ । सार्वजनिक बस वा कर चढ्नु दिवास्वप्नजस्तै हुन्छ । रंगशाला वरिपरिको भीडमभीड माहोल र व्यस्त सडकका कारण उबर, करिम (ट्याक्सी) पाउन पनि घण्टौं कुर्नुपर्छ वा ट्याक्सी पाउने ठाउँसम्म पुग्न कम्तीमा एक घण्टा जुत्ता खियाउनुपर्छ ।
त्यसैले चढ्न र सिट पाउनै मुस्किल भए पनि सबभन्दा राम्रो विकल्प मेट्रो नै हो । मेट्रोभित्रको माहोल नै फरक छ । अखबार पढेजस्तो, समाचार सुनेजस्तोभन्दा बिलकुल फरक छ मेट्रोको यात्रा । महिलाले शरीर ढाक्ने कपडा लगाउनैपर्ने, महिलालाई सीधा आँखाले हेर्नै नहुने कतै सुने–पढेको कुरा गफै त हो भनेजस्तो लाग्छ । विश्वकपमा सहभागी देशबाट आएका र अरू समर्थक झन्डा बोक्छन्, ओढ्छन् । आफ्नो टिमको जर्सी लगाउँछन् । मैदानभित्र खेलाडीहरू र रंगशालाभित्र दर्शक
आफ्नो टिमको समर्थनमा कुनै कसर बाँकी राख्दैनन् । तर, बाहिरको व्यवहार बिलकुलै फरक देखिन्छ । अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाको खेलअघि दुवै टिमका समर्थक मेट्रो, सार्वजनिक स्थल र रंगशालाबाहिर सँगसँगै गीत गाउँदै नाचिरहेका थिए । अविश्वसनीय रूपमा साउदीले लियोनल मेसीको टिमलाई २–१ ले पराजित गरेपछि पनि दुवै टिमका समर्थक सडकमै नाचगान गर्दै फर्किरहेका थिए ।
९२ वर्षको इतिहास बोकेको विश्वकपको सबभन्दा बढी लगानी भएको यसैपालि हो । २ खर्ब २० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भएको अनुमान गरिएको यो विश्वकपका आठमध्ये सात रंगशाला नयाँ बनाइएका हुन् । खलिफा अन्तर्राष्ट्रिय रंगशाला मात्रै पुरानो हो, जसलाई केही संरचना थपघट गरेर प्रयोग गरिएको छ । एसियाली खेलकुद (एसियाड, सन् २००६), एसियन कप २०११, विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ को मुख्य आयोजनास्थल पनि हो खलिफा रंगशाला । यही मैदानमा जापानले चारपल्टको विश्वकप विजेता जर्मनीमाथि २–१ को ऐतिहासिक जित रच्यो । जापानले अतिरिक्त समयमा गोल गर्दै अस्ट्रेलियालाई १–० ले पन्छाएर एसियन कपको उपाधि कब्जा गरेको रंगशाला पनि यही हो । फरक यत्ति हो कि ११ वर्षअघि एसिया कपमा आउँदा रंगशाला प्रवेश गर्नेबित्तिकै गर्मीले खलखली पसिना बगेको थियो । यसपालि जर्मनी र जापानको चर्को प्रतिस्पर्धा, प्यारापिट भरिएका दर्शकको बाजागाजा, हुटिङ, जोसिलो उपस्थितिबीच पनि ज्याकेट खोल्न सक्ने अवस्था भएन । किनभने पूरा रंगशालामै एयर कन्डिसनर जडान गरिएको छ ।
खलिफामा मात्रै होइन, विश्वकपका आठवटै रंगशालामा एसीको व्यवस्था गरिएको छ । हुन त अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले गृष्म याममा सञ्चालन हुँदै आएको विश्वकपलाई त्यो बेला ५० डिग्री सेल्सियस नाघ्ने कतारमा चर्को गर्मीलाई ध्यान दिएरै पहिलोपल्ट हिउँदमा आयोजना गर्ने निर्णय गरेको थियो । अहिले पनि कतारमा गर्मी चर्कै छ, खुला स्थलमा हिँड्डुल गर्न पनि गाह्रो छ । तेल र प्राकृतिक ग्यासको उत्पादनबाट प्रतिव्यक्ति आय १ लाख १३ हजारभन्दा डलर बढी बनाएको कतारले यो विश्वकपका बेला यसरी आतिथ्य गरेको छ कि शीतल नहुने कुनै भौतिक संरचना, बस, ट्याक्सी नै छैन । रंगशालाबाहिर सुरक्षा जाँच गर्ने स्थल, मिडिया सेन्टर, क्याफेटेरिया लगायत सबैतिर गर्मी होइन, ठण्डा लाग्छ ।
रंगीचंगी जर्सी, समर्थन गरिएका टिमसँग मिल्दो रङले कोरिएका गाला, कलात्मक र रंगीन टोपीले रंगशालाभित्र दर्शकलाई आकर्षक बनाएको छ । खेल सुरु हुनुभन्दा घण्टौं अघि विश्वका चर्चित डिजेले रंगशालालाई संगीतमय बनाइरहेका छन् । फ्रेन्च डिजे डेबिड गुएटालगायतको मिक्सिङ र म्युजिकले रंगशालाभित्रको माहोल नै म्युजिक कन्सर्टजस्तै बनाइरहेको छ । दर्शकहरू पनि आ–आफ्नै सिट भएको क्षेत्रमा झुम्मिँदै नाचिरहेका देखिन्छन् । यहाँ नाचगानमा कुनै रोकतोक छैन । खेलअघि र खेलपछि रंगशालाबाहिर, सहरका मुख्य स्थलमा बनाइएका
फ्यान जोनमा मनोरञ्जनको कुनै कमी छजस्तो लाग्दैन । हाफ पाइन्ट र स्कर्ट लगाएका महिलाहरू प्रशस्तै हुन्छन् । स्थानीय महिला भने बुर्कामै पनि रंगशालामा देखिन्छन् ।
चार वर्षअघिको विश्वकपमा दर्शकहरू ठूल्ठूला गिलासमा बियर पिउँदै खेल हेरिरहेका हुन्थे । युरोपेली क्लब फुटबलमा पनि यस्तै संस्कार छ । संसारमा लोकप्रिय लिग र प्रतियोगितामा पनि अल्कोहल (विशेषगरी बियर) रंगशालामा बिक्री गरिन्छ । कतारमा भने सार्वजनिक स्थलमा अल्कोहल पिउन पाइँदैन । आफ्नै घरमा पिउनका लागि अल्कोहल खरिद गर्न पनि उच्च आयको प्रमाण देखाएर लाइसेन्स नै लिनुपर्छ । फ्यान फेस्ट (९० स्थानमा बनाइएका फ्यान जोनमा मनोरन्जनका लागि सञ्चालन गरिएको उत्सव) मा भने बियर बिक्री गरिएको छ, खुला रूपमै पिउन पाइन्छ । चर्चित डीजे र गायकहरूले फ्यान फेस्टमा बिहान ३ बजेसम्मै प्रस्तुति दिइरहेका छन् । चर्को स्वरमा बजिरहेको म्युजिकमा बियर पिउँदै नाच्न र ठूल्ठूला स्क्रिनमा खेल हेर्न कुनै रोकतोक छैन ।
विश्वकप खेल प्रत्यक्ष हेर्न करिब १२ लाख मानिस कतार आउने अनुमान गरिएको छ । खेलको टिकट खरिद गरेपछि
हाय–कार्ड बनाउन पाइन्छ । हाय–कार्ड नै कतार प्रवेशका लागि विशेष भिसा हो । हाय–कार्ड भएका व्यक्तिलाई सुरक्षाको कारणबाहेक कतार प्रवेशमा रोक्न पाइँदैन । विश्वकपको बहानामा कतारमा परिवार भेट्न आउने, घुम्न आउने नेपाली पनि धेरै छन् । दोहामा महँगी यसरी बढेको छ कि होटलमा एउटा कोठा एक रातका लागि बुक गर्न पनि कम्तीमा दैनिक २ सय डलर चाहिन्छ । दुईवटा क्रुजमा ६ हजार डलर पर्ने कोठा पनि छ । होटल, अपार्टमेन्ट, फ्यान बस्न बनाइएका कन्टेनर गरी कतारमा जम्मा १ लाख ३० हजार कोठा उपलब्ध छन् । यसमा १२ लाख दर्शक अटाउँदैनन् । त्यसैले दर्शकलाई दुबई, यूएई, साउदी अरेबिया, इजिप्ट र ओमानमा पनि बस्न र आउजाउ गर्न भिसा चाहिँदैन, हाय–कार्ड भए पुग्छ ।
नेपालीका लागि सबभन्दा नजिक र सबभन्दा सस्तो विश्वकप पनि यही हो । कन्जुस्याइँ गरेर १ लाख रुपैयाँ खर्च गरे कतारमा एउटा खेल हेरेर स्वदेश फर्किन सकिन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट टिकट लिएरै झन्डै ३ सय नेपाली विश्वकपका खेल हेर्न कतार आएका छन् । अनलाइन र एजेन्टमार्फत टिकट किनेर अमेरिका, हङकङ, बेलायत, दुबई, युरोपबाट पनि नेपाली फुटबल क्रेजीहरू कतार आइरहेका छन् । रोजगारीका लागि कतार आएका ३ लाख ५० हजारभन्दा बढी नेपाली यहाँ बस्छन् । रंगशालाभित्र अलि कम र बाहिर अलि बढी । जता गए पनि नेपाली भेटिन्छन् । महँगो टिकट थोरैले लिएका छन् भने धेरैले फ्यान जोनमै विश्वकपको मज्जा लिइरहेका छन् । विश्वकपको रंगशाला–प्रोजेक्टमा काम गरेका र ठेक्का पारेका नेपाली थुप्रै भेटिए ।
सिनालोआ (मेक्सिको) बाट आएका ओस्कर अरियताले राष्ट्रिय टिमको जोस बढाउन क्यानडा, अमेरिका र मेक्सिकोबाट २० हजार प्रशंसक कतार आएको बताए । उनका अनुसार, करिब ८० हजार मेक्सिकन रोजगारीका लागि कतारमै छन् । त्यसैले अर्जेन्टिना र ब्राजिलपछि धेरै चलहपहल मेक्सिको समर्थकको देखिएको छ ।
करिब ३ लाख मात्रै स्थानीय रहेको कतारमा २३ लाख काम गर्न आएका आप्रवासी बस्छन् । बढीजसो नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया र अफ्रिकी देशका छन् । सेक्युरिटीको काममा नेपालीलाई ठूला ज्यानका अफ्रिकीले विस्थापित गरिरहेका छन् । यी आप्रवासीमाझ ब्राजिल र अर्जेन्टिनी टिम नै लोकिप्रय रहेछ ।
विश्वकपलाई लिएर कतारमाथि गरिएको आलोचनाबारे फिफा अध्यक्ष जियानी इन्फान्टिनोले युरोप आफैंले गर्दा ३ हजार वर्षसम्म मानव अधिकारको पाठ अरूलाई नसिकाउन भनिदिए । यो भनाइले युरोपमा उनको चर्को विरोध भइरहेको छ । फिफाले यो विश्वकपका खेलाडीलाई कुनै किसिमको पनि विरोध गर्न प्रतिबन्ध लगायो । त्यसैले जर्मन खेलाडीहरूले खेलअघि मुख थुनेर विरोध जनाए । समलैंगिकतामा गरिएको प्रतिबन्धको विरोधमा कप्तान म्यानुएल नोयले इन्द्रेणी रङको फुटबल सुज लगाए । समलैंगिकताको संकेत दिने ‘वान लभ’ लेखिएको ब्यान्ड लगाउन नदिएपछि इंग्ल्यान्डका खेलाडीहरूले खेल सुरु हुनुअघि मैदानमा घुँडा टेकेर विरोध जनाए । खलिफा रंगशालामा फिफा अध्यक्षसँगसँगै रहेका जर्मन मन्त्रीले
आफ्नो पाखुरामा ‘वान लभ’ को ब्यान्ड लगाएरै खेल हेरे । इरानी टिमले महिला अधिकारलाई लिएर गरिएको दमनको विरोधमा राष्ट्रिय गान नै गाएनन् । विरोध मात्रै होइन, राम्रो कुरा पनि कायम छ । खेलपछि रंगशालाको फोहोर टिप्ने कामलाई जापानी दर्शकले कतारमा पनि निरन्तरता दिएका छन् ।
खासमा २०११ फ्रान्सेली क्लब पीएसजी (पेरिस सेन्ट जर्मेन) किनेपछि कतारले विश्व फुटबलमा चर्चा पाएको थियो । त्यसको एक वर्षअघि विश्वकप आयोजनाको अधिकार पाउनुमा पनि तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरविरुद्ध विश्व फुटबलको नेतृत्वका लागि कतारी नागरिक मोहमद बिन हमामको उम्मेदवारीले काम गरेको बताइन्छ । त्यसबेला एएफसी अध्यक्ष रहेका हमामलाई चुप लगाउन विश्वकप कतारलाई दिइएको हल्ला छ । विश्वकप पाएपछि पनि पछि हटेनन् हमाम । त्यसपछि भ्रष्टाचार अभियोगमा फुटबल गतिविधिमा प्रतिबन्ध लगाइएका हमाम अहिले कतारमै विश्वकप भइरहँदा कहीँकतै देखिएका छैनन् । तर, उनको चर्चा भने भइरहेकै छ ।
विश्वकपमा क्यानडा ३६ वर्षपछि फर्कियो । वेल्सले ६४ वर्षपछि पुनरागमन गर्‍यो । त्योभन्दा अगाडि १९५८ देखि पेले विश्वकपका हरेक संस्करणमा उपस्थित हुँदै आएका थिए । विश्व फुटबलका हस्ती पेले र डिएगो म्याराडोना चार दशकयता हरेक विश्वकपमा भीआईपी कक्षमा बसेर खेल हेर्थे । उनीहरू रंगशालामा मुख्य आकर्षण हुने गर्थे । यसपालि रंगशालामा दुवै छैनन् । पेले बिरामी छन् भने म्याराडोना बितिसके । जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउर, ब्राजिली रोनाल्डो, फ्रान्सका मासेल डेसाइली, आइभरी कोस्टका डिडियर ड्रोग्बाले दर्शकलाई पेले र म्याराडोनाले जस्तै आकर्षित गर्न सकेका छैनन् ।
विश्वकपकै मौका पारेर कतारले नयाँ सहरसहित लुसेल रंगशाला निर्माण गर्‍यो । विश्वकपपछि पूरै विस्थापित गर्नेगरी कन्टेनर प्रयोग गरेर ‘रंगशाला–९७४’ बनायो । टेक्नोलोजीको उच्चतम उपयोग गरेर ३० मिनेटको उद्घाटन समारोहलाई भव्य देखायो ।
रंगशालाभित्र एकै एपमा खेलको चार भिडिओ एउटै स्क्रिनमा हेर्न सक्ने सुविधा छ । त्यसैले रंगशालामा जहाँको टिकट लिए पनि खेलको मज्जा भरपूर लिन सकिन्छ । माथिकै सिटमा परे पनि गेम प्लान मज्जैले देख्न सकिन्छ । प्लेयर बक्सनजिक भए खेलाडीलाई नजिकबाटै नियाल्न सकिन्छ । रंगशालाभित्रका ठूला स्क्रिनले माहोल अझै तताउने गरेको छ । खेलको कमाइले भर्खरै जीवन धान्न थालेका खेलाडीखि एक सातामै ५–७ लाख डलर तलब बुझ्ने क्रिस्टियानो रोनाल्डो, मेसी, नेयमर, किलियन एम्बाप्पेको खेललाई एउटै मैदानमा हेर्न पाइने प्रतियोगिता विश्वकप नै हो ।
कोरियन ब्यान्ड बीटीएसका जुङ कुकले आफ्नो नयाँ गीत यहीँ रिलिज गरे । बसोबासका लागि बनाइएका अरू स्थलमा पनि अधिकतम सुविधाको व्यवस्था छ । मेसीको टिम अर्जेन्टिना र युवा स्टारले भरिएको स्पेन होटलमा नभई कतार विश्वविद्यालयको होस्टेलमा बसेका छन् । इन्डोर हल–आवासमै छ सेनेगल ।

कोसेली

हुनेवाला दुलहाको चिठी

- गंगा कसजू

 


श्री आदरणीय विनय सर, अटुट सम्झना र भावपूर्ण श्रद्धाञ्जली ।
केही दिन भयो तपाईंको धेरै सम्झना आइरहेको छ । मलाई सधैंका लागि छाडेर जानुभएको दिन नजिक आएर पनि होला, तपाईंको यादले सताइरहेको । तपाईंसँग विछोड भएको दिनको याद आउँदा मलाई सधैं पीडाबोध हुनुका साथै विक्षिप्त तुल्याउँछ । आँखाबाट बलिन्द्रधारा बग्नुका साथै भक्कानिन पुग्छु म । तपाईंलाई बचाउन नसकेकामा ग्लानि महसुस गरिरहन्छु । आज म तपाईंको अन्तिम दिनको विषय खोतल्न चाहन्नँ, बरु तपाईंसँग पहिलो भेट भएको दिनको सम्झना गर्न चाहन्छु । यही सम्झना सबैलाई साझा गर्न चाहन्छु ।
ल ल ल
२०३२ सालमा मेरा कान्छा दाइ डा. कृष्णचन्द्र राजभण्डारी भैरहवा ब्यारेकमा गुल्मपति हुनुहुन्थ्यो । उहाँले पाल्पा तानसेनको एक जना मित्रलाई आफ्नी बहिनीको विवाहका लागि सज्जन खालको कुमारको खोजी गर्न अनुरोध गर्नुभएको रहेछ । मित्रले तानसेननिवासी विनयकुमार कसजूको नाम बताउनुका साथै उहाँबारे विस्तृत परिचय पनि दिनुभएछ । विनय सरबारे सुन्नु भएपछि दाइलाई एकदमै मन परेछ । र, मित्रलाई भेट्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएछ ।
दाइको मित्र हुनुहुन्थ्यो तानसेन मखनटोलनिवासी कप्तान रामबहादुर थापा । उहाँ त्यतिबेला भैरहवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो । २०३२ सालको श्रावणबाट कप्तान थापाको विनय सरसँग पत्राचार हुन थालेछ । उहाँले विनय सरलाई लेखेका चिठीमा वागलुङ निवासी एक जना महाशयले आफ्नो प्यारो वस्तु तपाईंलाई दिन चाहनुभएको छ भनेर लेख्नुभएको रहेछ । विनय सर के होला भनी एकछिन घोत्लिनुभएछ, पछि पुस्तकहरू होला भन्ने सोच्नुभएछ । किनभने उहाँ र कप्तान राम थापाबीच तानसेनको धवल पुस्तकालयमा बराबर भेटघाट भइराख्दो रहेछ ।
कप्तान थापाले अरू कसैसँग दसैंमा विनय सरको बिहे पक्का भएको सुन्नुभएछ । फेरि दसैं सकिएपछि बिहे नभएको कतैबाट थाहा भएछ । त्यसपछि विनय सरसँग सोधपुछ गर्दा बिहे नहुने जानकारी पाएर आफ्नो प्रस्ताव राख्नुभएछ । कन्या र कुमारको प्रत्यक्ष देखभेटपछि कुरा अगाडि बढाउने समझदारी बनेछ । र, मलाई वागलुङबाट भैरहवा बोलाउनुभयो । म आएँ । २०३२ पुसको १९–२० तिर आएँजस्तो लाग्छ, केही दिनमा भेटघाटको कार्यक्रम बन्यो ।
भेटघाटका दिन भैरहवाको मेरो शिक्षिका साथी माया थापा आउनुभएको थियो । म उहाँसँगै बसिरहेकी थिएँ । उहाँहरू आइपुगेपछि दाइ–भाउजू बाहिर बरन्डामा निस्कनुभयो । त्यहाँ विनय सरसँगै उहाँकी कान्छी आमा अमृत, मामाका छोरा रवीन्द्र लाकौल, साथी चिरञ्जीवी प्रधान र बहिनी अनुमति थिए ।
सबै जना त्यहीँ बसेर कुराकानी गर्न थाल्नुभयो । भित्र बसिरहे पनि मेरो ध्यान भने बाहिरै थियो । बाहिरको सबै कुराकानी भित्र सुनिन्थ्यो । भाउजूले मेरो परिचय दिँदा धेरै प्रशंसा गरेर कुरा गर्नुभएको सुन्दा मलाई संकोच लाग्यो । त्यसपछि मलाई बोलाउनुभयो, म गएर सबैलाई नमस्ते गरें, भाउजूले भित्र जान भन्नुभएपछि म कोठामा आएर बसें । उहाँहरूबीच कुराकानी भइरह्यो । त्यहीबीचमा मलाई फेरि बोलाउनुभयो र गएँ । विनय सरले फेरि हेर्छु भन्नुभएको रहेछ । दोस्रो पटक जाँदा लाज लागेर कसैसँग आँखा जुधाएर हेर्न सकिनँ, तलतिर हेर्दै उभिइरहें । भाउजूले फेरि भित्र जानू भन्नुभएपछि म भित्र आएँ ।
त्यसबीचमा के कुराकानी भयो, राम्ररी सुनिएन । एकैचोटि बिहे कहिले गर्ने भन्नेबारे छलफल भएको सुनियो । यो सुन्दा खुसीसँगै डर पनि लागेर आयो । हातखुट्टा नै गलेर आयो । उहाँहरू हिँडेपछि भाउजू भित्र आएर सोध्नुभयो– कस्तो लाग्यो तपाईंको दुलहा ? मैले ‘राम्ररी देखिनँ’ भनें । त्यसपछि आँगनमा पुगेका विनय सरलाई देखाउँदै भन्नुभयो, ‘एकदम राम्रो लाग्यो केटा त, कम बोल्ने रहेछ ।’
म भन्ने गर्थें, ‘विचार मिल्ने केटासँग बिहे गर्छु ।’ बिहे हुने केटासँग कुरा गरेर मात्रै बिहे गर्छु, तर त्यस्तो हुने देखिएन । विनय सरकी कान्छी आमा पनि हुनुभएर हो कि, मेरो भाउजूले कुराकानी गर्दा मलाई सँगै राख्नुभएन ।
भेटघाटको दुई दिनपछि दाइले मलाई एउटा चिठीको खाम दिँदै भन्नुभयो, ‘तिम्रो हुनेवाला दुलहाको चिठी ।’ चिठी पाउँदा खुसी लाग्यो । संकोच मान्दै चिठी लिएर पढ्न थालें । मेरो जीवनमा केटामान्छेबाट पाएको त्यो नै पहिलो चिठी थियो । तर, चिठी भने सामान्य प्रेमपत्र थिएन, गहन विषयहरूको सँगालो थियो । धेरै पटक दोहोर्‍याएर पढें ।
चिठी पढेपछि मैले पाउने जीवनसाथी सामान्य हुनुहुन्न भन्ने लाग्यो । मलाई उहाँको जीवनसाथी बन्ने योग्यता पुग्दैन कि भन्ने बनायो । म प्रगतिशील विचारमा आस्था राख्थें, तर त्यसबारे गहिरो अध्ययन थिएन । उहाँले चिठीमा परम्परा, अन्धविश्वास र कुरीति, धर्ममा भएको ढोङबारे आफ्नो मान्यता स्पष्ट रूपमा राख्नुभएको थियो । धार्मिक अनुष्ठान, पूजापाठमा विश्वास नगर्ने उहाँका कुराले मन छोयो । त्यस्तै धनसम्पत्तिको विषयका विचार पनि मननयोग्य लाग्यो । परिवार र समाजमा यी विषयलाई लिएर संघर्ष छ भन्नुभएको थियो । उहाँका सबै मूल्यमान्यतालाई स्वीकार गरेर मैले उहाँसँग विवाह गर्ने निर्णय गरें ।
विनय सरकी आमा पूजाआजा, धर्मकर्म गर्नुहुन्थ्यो । आमा बित्नुभएपछि घरमा नित्य पूजा गर्न छोड्यौं । २०४० सालपछि घरमा र बाहिर कतै पनि पूजा पाठ गर्न छाडिदियौं । विनय सरले आमा नभएपछि पूजापाठ नगर्ने कुरा आमालाई भन्ने गर्नुहुन्थ्यो । त्यसैले उहाँकी आमाले आफू बाँचेकै बेला सबै दान गरिसक्नुभएको थियो । छोराहरूको व्रतबन्ध, कुनै पनि धार्मिक अनुष्ठान गरेनौं । विनय सर आफ्नो शवलाई श्रद्धाञ्जलीका लागि
नराखी सामान्य तरिकाले विद्युतीय माध्यमबाट अन्त्य गर्नू, धेरै मलामी बोलाएर दुःख नदिनू भन्नुहुन्थ्यो । त्यसैले उहाँको
अन्त्येष्टि कार्य पनि उहाँको इच्छाअनुसार गर्‍यौं, सनातन
तरिकाले गरेनौं ।
लामो यात्रामा जीवनमा मैले विनय सरलाई असल श्रीमान्, असल साथी, असल अभिभावक र असल गुरुको रूपमा पाएँ । उहाँ बहुमुखी प्रतिभा भएको बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ ज्ञानको समुद्रजस्तै लाग्थ्यो । भाषालाई माया गर्ने साहित्यप्रेमी, समाजसेवी, क्रियाशील असल नागरिक हुनुहुन्थ्यो । जुन–जुन क्षेत्रमा उहाँले काम गर्नुभयो, ती सबैमा क्षेत्रमा कुशल, इमानदार र सफल हुनुभयो ।


मितिः २०३२–९–२९

सुश्री गंगादेवी राजभण्डारी
सम्झना
एक जना अपरिचित व्यक्तिबाट अचानक यो चिठी पाउँदा तपाईंलाई आश्चर्य लाग्ला, तर मेरो विचारमा अब हामी अपरिचित छैनौं किनभने जीवनसाथी छान्ने सन्दर्भमा मेरोबारेमा धेरै कुरा तपाईंलाई थाहा भैसकेको होला र मलाई पनि केही कुरा थाहा भएको हुनाले साथै केही दिनअघि मात्र हाम्रो देख भेट पनि भएको हुनाले अब हामी अपरिचित छैनौंजस्तो लाग्छ । सुनेको कुरामा मात्र विश्वास नगरी आपसी विचार आदान प्रदान र पत्र व्यवहार भयो भने जीवनसाथी छान्न सजिलो होला र भविष्यमा जीवन सुखी बन्ला भन्ने विचारले मैले पत्र व्यवहार गर्न चाहेको हुँ । यसमा अन्यथा नसम्झनुहोला । साथै शिक्षित व्यक्तिले संरक्षकको खटनमा मात्र जीवनसाथी रोज्नु उचित नलागेको हुँदा पनि पत्र व्यवहारमा तपाईंले संकोच मान्नुहुनेछैन भन्ने आशा राखेको छु । आशा तथा विश्वास छ कि पत्रोत्तर अवश्यै पाउनेछु ।
हाम्रो भेट अथवा देखादेखको जुन कार्यक्रम भयो, त्यो त्यसप्रकारले होला भन्ने चिताएको थिइनँ । मेरो विचारमा टेबुलवरिपरि बसेर कुराकानी र विचारविमर्श होला भन्ने लागेको थियो र उमंग थियो । साथै शिक्षण पेसामा लागिसकेकी हुँदा कस्तो कुरा होला भन्ने मनमा संकोच पनि थियो । त्यहाँ पुगेपछि बादलभित्रको चन्द्रमाझैं झलाकझुलुक्क मात्र देख्न पाइएला भन्ने सोचेको थिइनँ । भाउजूको व्यवहार जति खुला भए पनि यस काममा उहाँले खुला हुन सक्नुभएन अथवा तपाईं स्वयं पर्दामा रहेर बस्न खोज्नुभएकाले हो कि ?
वास्तवमा तपार्इंलाई हेर्नु मेरो उद्देश्य थिएन । हेर्नलाई त फोटो छँदै थियो । मैले २/४ कुरा गर्न खोजेको थिएँ । मेरो विचारमा शारीरिक सौन्दर्य अथवा रूपभन्दा भित्री सौन्दर्यको बढी महत्व छ । शीप र शील भएन भने बाहिरी रूपले के हुन्छ र ?
मेरो विचारमा हामी परम्परावादी हुनु हुँदैन । किनभने हाम्रो परम्परा हाम्रो अन्धविश्वास र कुरीति ढोंग र धर्मभीरुताले गर्दा हाम्रो समाजको अवनति भैरहेछ । जनसाधारणको परम्परागत विचारमा म नास्तिक ठहरिन्छु होला किनकि मैले धार्मिक अनुष्ठान र पूजापाठमा विश्वास गर्दिनँ र परिवार र समाजमा यही कुरालाई लिएर मेरो संघर्ष छ । यसकारण यो त स्वाभाविक छ कि मेरो जीवनसाथी परम्परावादी भैदिई भने मेरो जीवन लक्ष्यच्युत हुनेछ । धनका लागि मरिमेट्ने र धन नै सबै कुरा ठानेर साथीभाइ, इष्टमित्रलाई लत्याउने विचार पनि मेरो छैन । धन एउटा साधन मात्र हो साध्य अथवा लक्ष्य होइन भन्ने मलाई लाग्छ ।
हुन त चिठीमा सबै कुरा लेख्न सकिँदैन र शब्दहरूको त्यति शक्ति पनि छैन कि मनको कुरा सबै बताउन सकून् । यसकारण यो पत्रलाई यहीँ टुंग्याउँछु र अब म तपाईंको विचार र आदतको बारेमा जान्ने प्रतीक्षामा छु । आशा छ पत्र पाउनेछु ।
तपार्इंको
विनय कुमार