प्रतिनिधिसभा र प्रदेशसभामा १९ ठेकेदार
(काठमाडौं) - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न निर्माण कम्पनी सम्बद्ध १९ ठेकेदार सांसदमा निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका १५ ठेकेदारमध्ये ८ जना सांसद चुनिएका हुन् । निर्माण व्यवसाय आफैंमा वैधानिक र सम्मानित पेसा भएकाले यस्ता कम्पनीका सञ्चालकहरू सांसद बन्न कानुनले निषेध गर्दैन । मन्त्री, मुख्यमन्त्रीको दौडमा रहेका उनीहरू यस्ता संसदीय समितिमा पनि बस्छन् जसले उनीहरूको व्यवसायका विषयमा नीति निर्माण र अनुगमनसमेत गर्नेछ । यसले स्वार्थ बाझिने छ ।
पुल पूर्वाधारमा अलपत्र पारेर विभिन्न मुद्दा खेप्दै आएको पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रजौरिया अघिल्लो पटक जसपाबाट सांसद भएर विकास समितिमा सदस्यसमेत भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मात्र उनी निलम्बनमा परेका थिए । यसपालि उनले टिकट पाएनन् तर अरू १९ जना निर्माण व्यवसायी प्रतिनिधिसभा र प्रदेशसभा पुगेका छन् ।
निर्वाचित निर्माण व्यवसायीमध्ये एक हुन्– मोहन आचार्य । कांग्रेसबाट उम्मेदवार बनेका रसुवा कन्स्ट्रक्सनका आचार्य रसुवामा एमालेका छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै सांसद बने । उनी पहिलो पटक सांसद बनेका होइनन्, यसअघि पनि रसुवाबाटै जितेका थिए । कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे राप्रपाबाट चितवन–३ मा निर्वाचित भएका छन् ।
सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्ब बढी बिगो, त्यति नै जरिवाना तथा २ वर्ष कैद मागदाबीसहित चार वर्षअघि दायर गरेको थियो, विशेष अदालतले
गत असार ५ मा उनीहरूलाई सफाइ दिए पनि फैसलाको पूर्ण पाठ आएपछि अख्तियार सर्वोच्च अदालत जाने तयारीमा छ । यो मुद्दा दायर भएमा उनी निलम्बनमा पर्नेछन् ।
कान्छाराम कन्स्ट्रक्सनका पूर्णबहादुर तामाङ रामेछापबाट निर्वाचित भएका छन् । कांग्रेसबाट उम्मेदवार रहेका उनले एमालेका कैलाश ढुंगेललाई पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा पनि कांग्रेसबाटै उम्मेदवार बनेका तामाङ एमालेका श्यामकुमार श्रेष्ठसँग पराजित थिए ।
डोल्पाबाट बुद्ध हिमाली कन्स्ट्रक्सनका धनबहादुर बुढा निर्वाचित भए । एकीकृत समाजवादीबाट उम्मेदवार रहेका बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा उनले एमालेबाट जितेका थिए ।
ठेकेदारकै पृष्ठभूमिबाट आएका कृष्णकुमार श्रेष्ठले पनि बारा–४ बाट जितेका छन् । एकीकृत समाजवादीबाट चुनाव लडेका उनले एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् । ०७४ मा उनी कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गर्दैर् तनहुँ–१ बाट निर्वाचित भएका थिए ।
निर्माण व्यवसायीको पृष्ठभूमि रहेका राजु थापाले स्याङ्जा–१ मा एमालेका नारायणप्रसाद मरासिनीलाई हराउँदै कांग्रेसबाट चुनिएका हुन् । ०७४ को निर्वाचनमा पनि थापा र मरासिनीबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला भने उनी मरासिनीसँग पराजित थिए । थापा स्याङ्जाका कांग्रेस सभापतिसमेत हुन् ।
प्रतिनिधिसभातर्फ जयदेवी एसएस कन्स्ट्रक्सनसम्बद्ध दिक्पालकुमार शाही कांग्रेसबाट दैलेख–२ मा चुनिएका छन् । एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गर्दै उनी कांग्रेसबाट सांसद बनेका हुन् ।
आजाद निर्माण सेवामा आबद्ध अम्बरबहादुर रायमाझी उदयपुर–२ बाट निर्वाचित भएका छन् । एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गर्दै एमालेबाट रायमाझी विजयी बनेका हुन् ।
प्रदेशसभातर्फ पनि निर्माण व्यवसायीको पृष्ठभूमिबाट आएका १८ उम्मेदवारमध्ये ११ जनाले जितेका छन् । ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका हिमदुङ एन्ड थोकर प्रालिका बहादुरसिंह लामा अहिले प्रदेश सांसद चुनिएका छन् । नुवाकोट–२ (२) मा लामाले एमालेका विजयसिंह लामा तामाङलाई पराजित गरेका हुन् । उनी यसअघि सांसद हुँदा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्य थिए ।
मकवानपुर–२ (२) मा ठेकेदार पृष्ठभूमिकै इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बानियाँ निर्माण सेवा प्रालिका उनी कांग्रेसको वाग्मती प्रदेश सभापतिसमेत हुन् । उनले एमालेका लालबहादुर थापा मगरलाई पराजित गरेका हुन् । अघिल्लो पटक नै मुख्यमन्त्रीका दाबेदार रहेका उनी यसपालि आफ्नो आकांक्षा पूरा गर्ने कसरतमा छन् ।
सोलुखुम्बु–१ (२) बाट त्रिशक्ति निर्माण सेवाका ठेकेदार बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । एमालेका उनले माओवादीका शिवबहादुर बस्नेतलाई पराजित गरेका हुन् ।
यसैगरी बीएन बिल्डर्स प्रालिका दीपेन्द्र ठाकुर धनुषा–३ (२) मा एमालेबाट विजयी भए । लोकतान्त्रिक समाजवादीका परमेश्वर साह सुडीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
इम्यानुएल कन्स्ट्रक्सन प्रालिका छत्र बम्जन सिन्धुली–२ (१) मा कांग्रेसबाट निर्वाचित भएका छन् । उनले एमालेका विनोदकुमार खड्कालाई पराजित गरे ।
सर्लाही–४ (१) बाट विशाल कन्स्ट्रक्सन प्रालिका वीरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका उनी एमालेका रामबाबु रायलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
साह निर्माण सेवा प्रालिका नागेन्द्र साह पनि रौतहट–१ (१) बाट विजयी भएका छन् । कांग्रेसकै उम्मेदवार उनले एमालेका राजकिशोरप्रसाद यादवलाई पराजित गरेका हुन् ।
काभ्रे–१ (२) बाट पनि ठेकेदार पृष्ठभूमिका तीर्थबहादुर लामा विजयी भएका छन् । कांग्रेस जिल्ला सभापतिसमेत रहेका उनले एमालेका चन्द्र लामालाई पराजित गरेका हुन् ।
चालिसे निर्माण सेवाका पूर्णबहादुर खत्री दैलेख–१ (१) बाट प्रदेशसभा सांसद चुनिएका छन् । कांग्रेसका उनले एमालेका धर्मराज रेग्मीलाई पराजित गरे ।
जुम्ला–१ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका पुष्प निर्माण सेवामा आबद्ध देवेन्द्रबहादुर शाही पनि कांग्रेसका ललितजंग शाहीलाई पराजित गर्दै विजयी बनेका छन् ।
निगलासैनी निर्माण सेवाका सुरेन्द्रबहादुर पालले बैतडी–१ (१) बाट जितेका छन् । निर्माण कम्पनी भने उनकी श्रीमतीका नाममा दर्ता छ । एमालेबाट चुनावी मैदानमा उत्रिएका उनले स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई हराएका हुन् ।
ठेकेदारहरू संसद् सदस्यमा निर्वाचित हुँदा स्वार्थको द्वन्द्व हुने गरेको स्पष्ट हुँदाहुँदै पनि राजनीतिक नेतृत्वले उनीहरूलाई नै पटक–पटक अघि बढाउँदै आएको छ । आर्थिक प्रभावकै कारण सार्वजनिक सरोकार उपेक्षित हुँदै आएको राजनीतिक दलकै नेता–कार्यकर्ताहरू बताउँछन् । ‘ठेकेदारले नेतालाई चुनाव जिताउन पैसा दिन्छन् र त्यसबापत टिकट लिन्छन्,’ एक राजनीतिक दलका कार्यकर्ता भन्छन्, ‘पार्टीका नाममा वर्षौं झोला बोकेर हिँड्ने कार्यकर्ता भने ठेकेदारका अगाडि सधैं निरीह बनिरहेका छन् ।’
पूर्वसचिव किशोर थापा निर्माण व्यवसायी संसद्मा पुग्नु आफैंमा राम्रो भएको भन्दै मुख्य प्रश्न उनीहरूको व्यवहारमा हुने बताउँछन् । ‘प्रचलित संविधानअनुसार जो पनि चुनाव लड्न सक्ने भए, चुनाव लडेपछि जनताले जिताएर पठाउन पनि सक्छन् । चुनाव जितेपछि निर्माण क्षेत्रका समस्या समाधान गर्नेतर्फ लाग्नुपर्नेमा त्यसो नहुनु दुःखद हो,’ उनी भन्छन् ।
निर्माण व्यवसायी संसद्मा गएपछि स्वार्थ बाझिने काममा लाग्न नहुने पूर्वसचिव देवेन्द्र कार्कीको सुझाव छ । ‘विकास पूर्वाधार जोडिने संसदीय समितिमा उनीहरू बस्नुभएन,’ उनी भन्छन्, ‘समितिबाहिर बसेर सल्लाह–सुझाव दिन भने सकिन्छ ।’ पहिला निर्माण व्यवसायमा संलग्न भए पनि सांसदमा निर्वाचित भएपछि व्यवसाय छाड्नुपर्ने उनको भनाइ छ ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)











