You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

राजस्वले चालु खर्च धान्नसमेत कठिन

- कृष्ण आचार्य

(काठमाडौं)
देशको अर्थ नेतृत्व भद्रगोल हुँदा चालु आर्थिक वर्षमा पनि सरकारी खर्च र राजस्वको अवस्था नाजुक छ । सरकारले गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ, तर गत वर्षको यही अवधिको तुलनामा २० प्रतिशत कम राजस्व संकलन भएको छ । यसरी सरकारीे आम्दानीले चालु खर्च धान्न पनि कठिन हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटअनुसार आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) सम्म ४ खर्ब ६४ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । तर, लक्ष्यभन्दा १ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ कम अर्थात् जम्मा ३ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा समेत ४ खर्ब ४३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी चालु वर्षको लक्ष्यभन्दा २४ प्रतिशत र गत वर्षको यही अवधिको उपलब्धिभन्दा २० प्रतिशत कम राजस्व संकलन भएको हो ।
आम्दानी र खर्चको तुलना पनि अत्यासलाग्दो अवस्थातर्फ छ । सरकारले संकलन गरेको राजस्वले चालु खर्च (कर्मचारी, शिक्षक, सैनिक, प्रहरीको तलब तथा भत्ता खर्च) का लागि समेत नपुग्ने अवस्था आएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार मंसिरसम्म ३ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएकामा त्यति नै बराबर अर्थात् ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ चालु खर्च भइसकेको छ । पुँजीगत र वित्तीय व्यवस्थाका लागि बजेटबाट कुनै योगदान नहुने अवस्था छ ।
‘आयात र रेमिट्यान्स बढेका पछिल्ला दशकमा राजस्वले चालु खर्च नधान्ने यस्तो अवस्था आएको मलाई सम्झना छैन । तर यस वर्ष राजस्वले चालु खर्च नपुग्ने अवस्था आयो,’ अर्थशास्त्री तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डिल्लीराज खनाल भन्छन्, ‘यसले मुलुकको सरकारी वित्तीय प्रणालीलाई दुर्घटनातर्फ लैजान्छ ।’
खनालले भनेझैं यस वर्ष राजस्वसहित अन्य स्रोतबाट प्राप्त आम्दानीले सरकारी खर्च नपुगेपछि गत आर्थिक वर्षको मौज्दातबाट खर्च भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गत असारसम्म सरकारी ढुकुटीमा (संघ, प्रदेश र स्थानीय तहसहित) २ खर्ब २७ अर्ब रुपैयाँ मौज्दात थियो । यो रकम अहिले १ खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ ।
राजस्व कम उठ्ने र उठेको राजस्वले पनि चालु खर्च नपुग्ने अवस्था आइरहँदा पुँजीगत खर्चको अवस्था पनि कमजोर छ । चालु आर्थिक वर्षको पाँच महिनामा करिब १० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पाँच महिनामा ३३ अर्ब ९९ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ । जब कि वर्षभर खर्चिनुपर्ने यस्तो बजेट ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ हो ।
अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने हालसम्म भएको पुँजीगत खर्च गत वर्षको तुलनामा प्रतिशत र अंक दुवै हिसाबले बढी भएको तथ्यांक अघि सार्छन् । तर कति ? ‘गत आर्थिक वर्षको यही अवधिमा विनियोजनको तुलनामा ७.५१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको थियो,’ उनी भन्छन् ।
डेढ वर्षअघि ३० असार ०७८ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि शर्माले प्रायः नछुटाउने वाक्य थियो– ‘हरेक महिना १० प्रतिशत पुँजीगत खर्च र लक्ष्यभन्दा २ सय प्रतिशत बढी राजस्व संकलन’ । दुर्भाग्य, यति धेरै महत्त्वाकांक्षी घोषणा गरेका शर्माको पहिलो बजेट कार्यान्वयन असफल जस्तै भएको थियो । गत वर्ष कुल विनियोजनको तुलनामा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भयो । राजस्व संकलन पनि लक्ष्यको तुलनामा ९० प्रतिशत मात्रै हासिल भएको थियो ।
अर्थ मन्त्रालयले आफ्नो कार्यक्षमताभन्दा विभिन्न सरकारी निकायका नीतिगत निर्णयलाई कारक ठानेको छ । ‘गत वैशाखबाट १० वटा वस्तुको आयातमा लगाइएको बन्देज, सेयरबाट प्राप्त  हुने पुँजीगत लाभकरको विषय, घरजग्गाको कारोबारको कमीहरूले गर्दा राजस्व संकलन कम भएको हो,’ अर्थ मन्त्रालयका प्रवक्ता काफ्ले भन्छन्, ‘समग्रमा अहिले अर्थतन्त्रमा मागको कमी छ । यी विषय नीतिगत कारणसँग अन्तरसम्बन्धित छन् ।’
अर्थशास्त्रीहरूले भने अर्थ मन्त्रालयको नेतृत्व, राजस्व प्रशासनको कार्यक्षमता, नैतिकता र नीति तथा कार्यान्वयनबीचको तालमेलको अभावलाई नै यो अवस्थाको कारक मान्छन् । अर्थमन्त्रीका रूपमा शर्मा आएपछि राजस्व सचिव, राजस्व महाशाखादेखि भन्सार प्रमुखमा क्षमतावान्लाई पाखा लगाएर आफ्नालाई अघि सार्ने प्रवृत्ति बढेकाले त्यसको मूल्य राज्यले चुकाउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र बैंकसँग समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको आरोप पनि अर्थमन्त्रीमाथि छ । ‘सरकारका विभिन्न निकायहरूका नीति एकातिर लक्ष्य अर्कोतिर हुँदा राजस्व संकलन कम भएको देखिन्छ,’ पूर्वअर्थ सचिव शिशिर ढुंगानाको टिप्पणी छ, ‘राजस्वको लक्ष्य धेरै बनाइसकेपछि त्यो कसरी संकलन हुन्छ भन्ने आधार तयार पार्नुपर्थ्यो । राजस्व छुट हुने खालका नीति ल्याउनु हुँदैनथ्यो । एकातिर राजस्व बढाउने आधार तयार पारिएन, अझ राजस्वमा छुट दिने नीति अख्तियार गरियो ।’
समग्र अर्थतन्त्रमा माग आएकाले पनि राजस्वमा निराशाजनक प्रतिकूलता थपिएको ढुंगानाको भनाइ छ । भन्छन्, ‘बैंकबाट निजी क्षेत्रमा जाने कर्जा यस वर्ष निरन्तर घटिरहेको छ । कर्जा घटेपछि बजारमा माग कमी भयो । मागमा कमी आएपछि कारोबार घट्यो । कारोबार नै कम भएपछि राजस्व संकलन कम हुने नै भयो ।’
सरकारले सुरुमा गत कात्तिकमा २० वटा समूहअन्तर्गतका करिब साढे ४ सय वस्तु आयातका लागि खोलिने एलसी (प्रतीतपत्र) मा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो । माघमा फेरि ४७ समूहअन्तर्गतका करिब साढे १२ सय वस्तु आयातका लागि खोलिने प्रतीतपत्रमा पनि ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था भयो । वैशाख १३ मा १० प्रकारका वस्तुको आयातमै पूर्ण बन्देज नै लगायो, जुन यसै महिनाबाट मात्र फुकुवा भएको छ ।
 आयातमा निषेध तथा समग्र अर्थतन्त्रको मागमा आएको कमीका कारण गत कात्तिकसम्म आयात १८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको कात्तिकसम्म ६ खर्ब ५० अर्बको सामग्री आयात भएकोमा यस पटक यही अवधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँका सामग्री मात्रै आयात भयो । यसले भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भयो ।
‘चौथो कारण आयात नियन्त्रण गर्ने काम सँगसँगै खुला सिमानाको अनुगमन गरिएन । अनुगमन कम गर्दा अनौपचारिक माध्यमबाट सामग्री आए, सरकारले राजस्व गुमायो,’ पूर्वसचिव ढुंगाना भन्छन् । ढुंगानाले संकेत गरेझैं अहिले आयात कडाइ गरिएका सामग्री अनौपचारिक माध्यमबाट भित्रिइरहेका छन् । अनुगमन, निगरानी तथा नियन्त्रणमा सरकार अस्तव्यस्त छ ।
‘राजस्व संकलन कम हुनुको पाँचौं कारण राजस्व प्रशासनसँग सम्बद्ध छ,’ पूर्वसचिव ढुंगाना भन्छन्, ‘राजस्व प्रशासनका कर्मचारीहरू छिटो–छिटो सरुवा गरियो । कर्मचारीले दिगो योजना बनाई काम गर्न पाएनन् । राजस्वमा चुहावट पनि बढ्यो, त्यसैले प्रतिकूल अवस्था सिर्जना भएको छ ।’
चालु आर्थिक वर्ष प्राप्त आम्दानीले खर्च धान्न गाह्रो भएकाले अब खर्च घटाउन पनि ढिलाइ गर्न नहुने अर्थशास्त्री खनालको सुझाव छ । ‘राजस्व कम उठ्ने र चालु खर्च बढ्ने कारणहरूबारे हामीले अध्ययन गरेर आयोगको प्रतिवेदनमार्फत सुझाव दिइसकेका छौं । अब त्यसको कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्नु हुँदैन,’ उनी भन्छन् ।
खनालका अनुसार पहिलो सुझाव, ‘मन्त्रालय, विभाग, संस्थान र कर्मचारी घटाउने मात्रै नभई प्रशासनिक खर्च तथा भत्ता शीर्षकको बजेट पनि कम गर्ने ठाउँ छ, अनियन्त्रित भत्ता बन्द घटाउनुपर्छ ।’ त्यस्तै, राजस्व र चालु खर्चबीचको सन्तुलन मिलाउन पुँजीगत खर्च पनि कटौती गर्नुपर्ने अवस्था छ । ‘पुँजीगत बजेट पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार झन्डै ६० देखि ७० प्रतिशत विकास आयोजना रुग्ण अवस्थामा छन् । नियमित बजेट छुट्याउनुपर्ने आयोजना पहिचान गरी विनियोजन गर्ने, काम नलाग्ने त्यस्ता आयोजनामा पूर्ण रूपमा बन्द गर्ने गर्नुपर्छ,’ खनाल सुझाउँछन् ।
 तेस्रो सुझाव, ‘राजस्व चुहावट नियन्त्रण नै हो । मुख्यगरी मूल्य अभिवृद्धि कर (भ्याट) छुट तथा फिर्तामा ठूलो चुहावट छ । कर छुट तथा चुहावटका विषयमा अनुसन्धान भए पनि कसैलाई कारबाही भएन । त्यसको असरले अहिले पनि राजस्वमा ठूलो चुहावट छ,’ भन्छन्, ‘यसले समानान्तर अनौपचारिक अर्थतन्त्र मौलाउन सघाएको छ । त्यसलाई नियन्त्रण गरेर सरकारी आम्दानी बढाउन सकिन्छ ।’

मुख्य पृष्ठ

प्रधानमन्त्रीमा दाहालको दाबीले दबाबमा देउवा

दोस्रो चरणमा सरकारको नेतृत्व गर्न पाइएला भन्नेमा देउवा र दाहाल दुवैलाई विश्वास छैन
- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन र पार्टीबाट दलको नेता बन्न कसरत गरिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गरेका छन् । शनिबार देउवालाई बालुवाटारमा भेटेका दाहालले समग्र शक्ति बाँडफाँटको विषय प्रवेश गराउँदै सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
माओवादीमा चुनौती दिने अर्को नेता अघि नबढेकाले संसदीय दलको नेता चुनिनुअघि नै दाहालले प्रधानमन्त्रीका लागि दाबी गरेका हुन् । कांग्रेसका दोस्रो तहका नेताहरूमार्फत सन्देश पठाउँदै आएका दाहालले देउवासँग भने पहिलोपल्ट मुख खोलेका हुन् । देउवाले दाहालको प्रस्तावमा प्रस्ट जवाफ दिएका छैनन् । ‘संसदीय दलको नेता टुंगो लागेपछि छलफल गरौंला भन्ने जवाफ प्रधानमन्त्रीको छ,’ बालुवाटार स्रोतले भन्यो ।
भेटपछि प्रधानमन्त्री देउवाले बालुवाटारमा आफूनिकट नेतासँग छलफल गर्दै दाहालले प्रधानमन्त्री खोजिरहेको जानकारी गराएका थिए । दोस्रो चरणमा प्रधानमन्त्री छाड्न तयार भएका देउवा सुरुमै दाहालले दाबी गरेपछि दबाबमा परेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने दाहालको प्रस्तावलाई अन्यथा नमानिएको बताए । ‘प्रचण्डजीले आफ्ना लागि प्रधानमन्त्री चाहियो भन्नुभएको छ, अब कसरी अघि बढ्ने भन्नेबारेमा दलको नेता टुंगो लागेपछि हामी छलफल गर्छौं,’ उनले भने, ‘प्रचण्डले प्रधानमन्त्री हुने प्रस्ताव गर्दैमा गठबन्धन टुट्ने वा विकल्प खोज्ने भन्ने कुरा सोचिएको छैन । आ–आफ्ना कुरा राख्नुलाई अन्यथा लिनुहुन्न । यस्तै प्रस्ताव पहिला पनि थियो होला, अहिले पनि राख्नुभयो । अब छलफल हुन्छ ।’
माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाहालले ‘पावर सेयरिङ’ कसरी गर्ने भन्ने विषयमा मात्रै छलफल गरेको दाबी गरे । ‘निर्वाचनबाट तपाईंहरूले बढी लाभ पाउनुभयो, हामीलाई भएन, गठबन्धन कसरी अघि बढाउने ? पावर सेयरिङको समग्रतामा कसरी सोच्नुभएको छ भनेर अध्यक्षले कुरा राख्नुभएको हो,’ उनले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्री चाहियो भनेर उच्चारण गर्नुभएको छैन ।’
माओवादी महासचिव देव गुरुङले दाहालको प्रस्ताव स्वाभाविक भएको बताए । ‘शान्तिप्रक्रिया र परिवर्तनका मुद्दाको नेतृत्व गरेको हैसियतले प्रचण्डले सरकारको नेतृत्व गर्ने कुरा स्वाभाविक हो, उचित कुरा पनि हो,’ उनले भने ।
पाँच वर्षको कार्यकाल आधा–आधा बाँडेर सरकारको नेतृत्व गर्ने विषयमा समझदारी बने पनि को पहिला प्रधानमन्त्री हुने भन्नेमा देउवा र दाहालबीच रस्साकसी छ । यसले सत्ता गठबन्धनको भविष्यलाई समेत अन्योलमा धकेल्ने कतिपय नेताको बुझाइ छ । ‘यसपटक प्रचण्डले पनि प्रधानमन्त्री छाड्ने सम्भावना देखिँदैन, छलफलमा उहाँको दह्रो अडान रहने संकेत देखिन्छ, देउवाले पार्टीभित्र र बाहिरसमेत तयारी अघि बढाइसक्नुभएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘साढे दुई वर्षपछि दोस्रो चरणमा सरकारको नेतृत्व गर्न पाइएला भन्ने रत्तिभर विश्वास उहाँहरूलाई छैन । त्यसैले सुरुमै प्रधानमन्त्री हुने दुवै नेताको चाहना छ ।’
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीको विषयले गठबन्धनमा असर नपर्ने बताए । ‘चुनावअघि पनि गठबन्धन टुट्छ कि भन्ने आशंका थिए, चुनावले गठबन्धनलाई अनुमोदन गर्‍यो,’ कार्कीले भने, ‘अहिले पनि प्रधानमन्त्रीको विषयलाई लिएर यस्ता आशंका उठ्न थालेका छन् । यसलाई चिरेर गठबन्धनकै नेतृत्वमा सरकार बनाउँछौं । प्रधानमन्त्रीको विषयले गठबन्धन टुट्ने–फुट्ने हुन्न ।’
कार्कीले भने, ‘प्रचण्डजीको भावना पनि गठबन्धनकै साथमा अघि बढ्नेछ । को प्रधानमन्त्री हुने भन्ने कुरामा सहज रूपमा सहमति हुन्छ ।’
स्रोतहरूका अनुसार दाहालले देउवामाथि दबाब बढाउन पार्टीका दोस्रो तहका नेतालाई एमालेसँगको वार्तामा समेत सामेल गराएका छन् । देउवाले पनि दोस्रो तहका नेतामार्फत एमाले नेताहरूसँग अनौपचारिक संवाद अघि बढाएका छन् । स्रोतका अनुसार माओवादीले यसपटक देउवालाई दबाबमा राख्नमात्रै नभएर प्रधानमन्त्रीको ‘बटमलाइन’ नै बनाउने योजना अघि सारिरहेको छ । कांग्रेसले डेढ वर्ष सरकार चलाइसकेको र जनादेशले पनि यथास्थितिमा रहने सुविधा नभएकाले आफू सरकारमा आउँदा परिवर्तनको आभास दिन सकिने दाहालको तर्क छ ।
गठबन्धनबाटै दाहाललाई प्रधानमन्त्री बनाउन कांग्रेसकै कतिपय नेता पनि चाहन्छन् । देउवाको शासकीय शैलीले कांग्रेसको जनमत अझै घटाउन सक्ने भन्दै कांग्रेसको संस्थापनइतर पक्षका अधिकांश नेताको चाहना दाहाललाई प्रधानमन्त्री बनाउनेतिर छ । ‘देउवाबाट शासकीय सुधार होला भनेर अब अपेक्षा गर्न सकिँदैन, दाहाललाई प्रधानमन्त्री बनाउने र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सरकारमा सामेल गरेर राम्रो मन्त्रिपरिषद् बनाउन सक्दा परिवर्तनको केही आशा गर्न सकिन्छ,’ कांग्रेसका एक नेताले भने ।
देउवाले आन्तरिक समीकरणमा खेलेर मात्रै नभई विदेशी शक्तिलाई समेत रिझाएर आफैं प्रधानमन्त्री बन्न खोजिरहेको बुझाइ कतिपय नेतामा छ । चुनावको सम्पूर्ण परिणाम नआउँदै भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र गठबन्धनको दोस्रो दल माओवादीका अध्यक्ष दाहालसँग भेटेका थिए । श्रीवास्तवले प्रधानमन्त्रीसँग दुईचोटि भेटिसकेका छन् । एउटै दललाई सहजै सरकार बनाउने अंकगणित नभएकाले यही तरलतामा खेलेर विदेशी शक्तिकेन्द्रले कसलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने भन्ने भूमिका खेल्न थालेको अनौपचारिक संवादमा नेताहरू बताउँछन् ।
‘गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा नै विदेशीको स्वार्थअनुकूल आएको हो, राजनीतिक दलहरूले ल्याएको होइन,’ अन्तर्राष्ट्रिय मामिलाका जानकारसमेत रहेका कांग्रेसका एक नेताले भने, ‘उनीहरूको प्राथमिकता सत्ता गठबन्धनलाई निरन्तरता दिएर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने छ । देउवा प्रधानमन्त्री हुँदा कांग्रेसलाई राष्ट्रपति दिन माओवादी तयार नहुने भएकैले सबैलाई मान्य हुने गरी कार्यकारी र न्यायालयका पूर्वप्रमुख खिलराज रेग्मी वा त्यस्तै अरू व्यक्तिलाई राष्ट्रपति बनाउने विषय चर्चामा आएको हो ।’
गैरराजनीतिक व्यक्तिलाई त्यसमा पनि न्यायालयका पूर्वप्रमुखलाई राष्ट्रपति बनाउने कुरा संविधानसम्मत नहुने भन्दै कांग्रेस नेताहरूले नै विरोध गर्न थालेका छन् । पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति बनाउने परम्परा बसाउने हो भने न्यायालयले कार्यकारीसँग सौदाबाजी गर्ने, शक्ति पृथकीकरणको सिद्धान्त समाप्त हुने र न्यायालयप्रतिको भरोसासमेत टुट्ने भन्दै नेताहरूले नेतृत्वलाई त्यस्तो जोखिमको बाटो नलिन सुझाएका छन् ।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको विषयले गम्भीर बनाएको भन्दै गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउन नहुने संकेत गरेका छन् । ‘राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागबाट पूर्णरूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ, यो कुरामा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्दैन, गर्न हुँदैन,’ उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन् ।
सांसदले शपथ नलिँदै कांग्रेसले दलको नेता चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्ने र सोमबार वा मंगलबार नै नेता चयनको प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ०७४ को निर्वाचनलगत्तै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदा बसालेको परम्पराअनुसार नै सरकार निर्माणका लागि तीन दिन समय दिएर आह्वान गर्न सक्ने संकेत आएकाले दलको नेता चयन चाँडै गर्नुपर्ने अवस्था आएको कांग्रेसका एक नेताले बताए ।
०७४ मा निर्वाचन आयोगले परिणामसहितको प्रतिवेदन बुझाउनासाथ ओली प्रधानमन्त्री पदमा नियुक्तिका लागि माओवादीको समर्थनपत्र लिएर गएका थिए । सांसदको शपथसमेत नलिएका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । त्यसलाई असंवैधानिक भन्दै यसपटक शपथपछि मात्रै प्रधानमन्त्री नियुक्तिको दाबी लिएर जाने योजना सत्ता गठबन्धनको थियो । तर, गठबन्धनले मागदाबी गर्नुअगावै राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्न सक्ने भन्दै कांग्रेसले तत्काल दलको नेता चयन गर्न लागेको हो ।
दलको नेताका लागि देउवा आफैं भिड्ने भएका छन् । देउवासँग प्रतिस्पर्धा कसले गर्ने भन्ने संस्थापन इतरपक्षमा अहिलेसम्म सहमति बनेको छैन । महामन्त्री गगन थापाले निर्वाचनकै बेला दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् । मौन रहँदै आएका नेता शेखर कोइरालालाई उनीनिकट नेताहरूले दलको नेता उठ्न दबाब दिइरहेका छन् । ‘शेखर र गगनबीच अहिलेसम्म को उठ्ने भन्ने समझदारी बनेको छैन, दुवै नेता उठ्ने प्रबल सम्भावनासमेत छ,’ एक केन्द्रीय सदस्यले भने, ‘अघिपछि नेतृत्व बदल्ने भनेर क्रान्तिकारी भाषण दिने नेताहरू नै आखिरी समयमा शेरबहादुरलाई सहयोग पुर्‍याउने भूमिकामा देखिन थालेका छन् ।’

मुख्य पृष्ठ

मेसीलाई अन्तिम अवसर

अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्ने सुरमा
फ्रान्सको दाउ उपाधि रक्षा
- राजु घिसिङ

(दोहा)
कतारमा पहिलोपल्ट विश्वकप सुरु हुने बेला दुई खेलाडी खुबै चर्चामा थिए– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलले पाएका सर्वकालीन महान् खेलाडीमध्येका यी दुई विश्वकप जित्ने अन्तिम प्रयासमा थिए । पोर्चुगलको हारसँगै रोनाल्डोको सम्भावना क्वाटरफाइनलमै सकियो । मेसी अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउँदै विश्वकपको उपाधिसहित करिअर सार्थक पार्ने अभियानको संघारमा छन् । उनको टिमले उपाधि होडमा आइतबार डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध लुसेल रंगशालामा फाइनल खेल्दै छ ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी मेसीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन् । ‘मेसी उत्कृष्ट खेलाडी हुन् । उनले कतारमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, फाइनलमा पनि पक्कै राम्रो गर्नेछन् । उनीजस्ता उत्कृष्ट खेलाडीको करिअरलाई विश्वकपको उपाधिले थप सुन्दर बनाउँछ,’ उनले शनिबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीसँग राम्रो टिम छ । युवा खेलाडीहरू छन् । सबैले राम्रो खेलिरहेका छन् । फाइनल जित्ने कोसिस गर्नेछौं ।’ उनले प्रतिस्पर्धीबारे बोले, ‘फ्रान्स निकै राम्रो टिम हो । राम्रो खेलिरहेको छ । हाम्रो कोसिस फ्रान्सलाई हराएर ट्रफी हात पार्ने हुनेछ ।’
विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका मेसी नै अर्जेन्टिनी टिमको ३६ वर्षपछि विश्वकप जित्ने अभियानका मुख्य हतियार हुन् । गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दाका कप्तान मेसीले पनि यो फाइनल नै विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताइसकेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सन् २०१४ मा फाइनल पुगेको थियो तर अतिरिक्त समयमा जर्मनीबाट १–० ले पराजित भएको थियो । त्यसैले दोस्रोपल्ट फाइनल खेल्दा मेसी विश्व विजेता बन्न चाहन्छन् । उनले उपाधि जित्न नसकेको प्रतियोगिता विश्वकप मात्रै हो ।
विश्वकपको २२ औं संस्करण सुरु हुँदा उपाधिको मुख्य दाबेदार अर्जेन्टिना थिएन । ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड र स्पेनलाई बलियो मानिएको थियो । पहिलो खेलमै साउदी अरेबियाविरुद्ध २–१ ले पराजित भएपछि अर्जेन्टिनाका लागि प्रत्येक खेल फाइनल बन्यो । कप्तान मेसीले भने पनि, ‘खेल जित्नैपर्ने बाध्यता थाहा पाएर मैदानमा जानु सजिलो थिएन । किनकि हार्‍यो भने प्रतियोगिताबाटै बाहिरिन्थ्यो । दोस्रो खेलदेखि हामी यस्तै परिस्थितिबाट आएका छौं । यसले मानसिक रूपमा धेरै बलियो बनाएको छ र टिमले त्यस्तो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने जानेको छ । हामीले पाँच फाइनल खेल्यौं र अब अर्को एउटा फाइनल खेल्दै छौं ।’
कतारमा अर्जेन्टिनी समर्थकको चहलपहल बढी नै छ । जता पनि आकाशे नीलो र सेतो धर्से रङको जर्सी देखिन्छ । करिब ४० हजार अर्जेन्टिनी समर्थक कतार आएको अनुमान छ । यसले पनि टिमलाई थप ऊर्जा दिएको छ । मैदानमा गतिलो खेल प्रदर्शन गरिरहेको फ्रान्सेली दर्शकको उपस्थिति भने साह्रै थोरै छ । गोल गरेको खुसीयाली मनाउने दर्शक केही सय वा हजारमात्रै रंगशालामा देखिन्छन् ।
‘अर्जेन्टिना र विश्वका धेरै मानिसले मेसीका लागि पनि विश्वकप जितेको हेर्न चाहेका छन् । केही फ्रान्सेलीले पनि त्यस्तै चाहन्छन् होला,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले भने, ‘हाम्रो उद्देश्य च्याम्पियन हुने हो भन्ने हामीलाई थाहा छ र त्यो उपलब्धिमा पुग्नका लागि सबै किसिमको प्रयास गर्नेछौं ।’ टिममा केही खेलाडीलाई भाइरसले सताए पनि त्यसबाट माथि उठ्ने प्रयास गर्ने उनले बताए । सन् १९९८ को विश्वकप विजेता फ्रान्सेली टिमका कप्तान रहेका उनी लगातार दुईपल्ट विश्वकप जित्ने दोस्रो प्रशिक्षक हुन सक्छन् । यो उपलब्धि इटालीका भिटोरियो पोज्जोले मात्रै हासिल गरेका छन् । उनी सन् १९३४ र १९३८ का च्याम्पियन प्रशिक्षक हुन् ।
साउदीले दक्षिण अमेरिकी च्याम्पियनको अपराजित यात्रा ३६ खेलमा टुंग्याइदिए पनि मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स र चार वर्षअघिको उपविजेता क्रोएसियालाई हराएर अर्जेन्टिना ८ वर्षपछि फाइनलमा उभिएको हो । अर्जेन्टिनाले प्रत्येक खेलमा सुधार गर्दै आएको छ । एउटा टिमका रूपमा संगठित देखिएको छ, राम्रो गरिरहेको छ । प्रदर्शनको हिसाबले पनि टिमको नेतृत्व मेसीले गरिरहेका छन् ।
पहिलोपल्ट हिउँदमा आयोजित विश्वकपमा बालोन डी’अर विजेता करिम बेन्जेमा, पाउल पोग्बा, एन्गोलो कान्टे, क्रिस्टोफर एन्कुन्कु, प्रेसनल किम्बेम्पे चोटका कारण उपलब्ध नभएपछि फ्रान्स समस्यामा परेको थियो । डिफेन्डर थियो हर्नान्डेज समूह चरणमै घाइते भए । तर, नयाँ खेलाडीहरूलाई उतारेर भए पनि फ्रान्सले कतारमा सुरुबाटै राम्रो प्रभाव देखायो । समूहको अन्तिम खेलमा ट्युनिसियाविरुद्ध हारेको खेलले ठूलो अर्थ राख्दैन । समूहमा अस्ट्रेलिया, डेनमार्क, नकआउटमा पोल्यान्ड, इंग्ल्यान्ड र मोरक्कोलाई पराजित गरेको फ्रान्स उपाधि रक्षाको अभियानमा फाइनल पुगेको हो । नयाँ भूमिकामा एन्टोनी ग्रिजमन उत्कृष्ट प्लेमेकर दरिएका छन् । उनीसँगै २३ वर्षीय फरवार्ड केलियन एमबाप्पे र ओलिभर जिरुडमा फ्रान्सेली टिम निर्भर छ ।
फ्रान्स र अर्जेन्टिना रुसमा सन् २०१८ मा भएको विश्वकपको अन्तिम १६ मा भिडेका थिए । कजानमा भएको रोचक खेल ४–३ ले जितेको फ्रान्स पछि फाइनलमा क्रोएसियालाई ४–२ ले हराएर च्याम्पियन नै भयो । त्यसयता अर्जेन्टिना र फ्रान्स पहिलोपल्ट भिड्न लागेका हुन् । यी दुईबीच विश्वकपमा तीन खेल भएको छ । अघिल्ला दुई खेल अर्जेन्टिनाले जितेको थियो । यी दुई चार वर्षपछि पहिलोपल्ट आपसमा खेल्न लागेका हुन् ।
कजानमा मेसीको टिमले अन्तिम क्षणसम्म संघर्ष गरेको थियो । उक्त खेलमा दुई गोल गरेका एमबाप्पेको प्रदर्शन निर्णायक थियो । यसपालिको भेटमा पनि एमबाप्पेकै प्रदर्शन निर्णायक बन्न सक्छ । किनभने उनी अग्रपंक्तिमा फ्रान्समा मुख्य हतियार हुन् । एक किसिमले फाइनल मेसी र एमबाप्पेको प्रतिस्पर्धा पनि हो । यी दुई ५–५ गोलसहित गोल्डेन बुटको होडमा छन् । सर्वाधिक गोलकर्ताको सूचीमा एक असिस्ट बढी भएकाले मेसी अगाडि छन् । पेनाल्टीमा तीन गोल गरेका मेसीजस्तै एमबाप्पे पनि कुनै पनि क्षण खेलको नतिजा उल्टाउन योग्य छन् ।
अग्रपंक्तिमा मेसी र एमबाप्पेका सहकर्मीले पनि राम्रै गरिरहेका छन् । रुसमा च्याम्पियन हुँदा सबै खेल सुरुबाटै खेलेर पनि गोलको खाता खोल्न नसकेका ३६ वर्षीय ओलिभर जिरुडले कतारमा ४ गोल गरेका छन् । २१ वर्षीय जुलियन अल्भारेजले पनि ४ गोल गर्दै अर्जेन्टिनी आक्रमणलाई बलियो बनाइरहेका छन् । लुसेलमा आइतबार दुवै टिमका डिफेन्सको एउटा गल्ती पनि हारजितको कारण बन्न सक्छ । मेसीप्रेरित अर्जेन्टिनामा भावनात्मक एकता छ । त्यसैले अर्जेन्टिनालाई गोल खाँदा पनि धैर्य हुनु जरुरी छ । खेलाडीको व्यक्तिगत कौशलका आधारमा फ्रान्स बलियो छ । तर, एमबाप्पे र ग्रिजमन चलेनन् भने उपाधि जोगाउने लक्ष्य पूरा नहुन सक्छ ।
विश्वकपको ९२ वर्षको इतिहासमा इटाली र ब्राजिलले मात्रै लगातार उपाधि रक्षा गरेका छन् । इटालीले प्रशिक्षक पोज्जोको पालामा सन् १९३४ र १९३८ तथा ब्राजिलले पेलेको युगमा १९५८ र १९६२ मा विश्वकप जितेका थिए । ब्राजिलपछि उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने दाउमा छ फ्रान्स । मारियो केम्पेस (१९७८) र डिएगो म्याराडोना (१९८६) को उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता भएको थियो । मेसीले पनि त्यस्तै उपलब्धि दिलाउने आस अर्जेन्टिनी र उनका समर्थकले गरेका छन् ।
दक्षिण अमेरिका र युरोपेली फुटबलको प्रतिष्ठाको प्रतिस्पर्धा पनि हो फाइनल । यी दुई महादेशबाहिरका टिमले विश्वकपको फाइनल खेलेका छैनन् । ब्राजिलले कीर्तिमान पाँचौंपल्ट विश्वकप सन् २००२ मा जितेको थियो । त्यसयता दक्षिण अमेरिकी टिम च्याम्पियन भएको छैन । यसबीच युरोपेली टिमले १२ औंपल्ट विश्वकप ट्रफी उचाल्न भ्यायो । दक्षिण अमेरिकी टिम ९ उपाधिमै रोकिएको छ । लुसेलमा आइतबार अर्जेन्टिना र फ्रान्समध्ये जसले बाजी मारे पनि त्यो उसको तेस्रो उपाधि हुनेछ ।

Page 2
समाचार

अझै पनि बालीघरे बोझ

आयआर्जनको दरिलो विकल्प नपाउँदा शिक्षा, स्वास्थ्यमा पछि परेका दलित समुदाय अझै पनि बालीघरे प्रथा धान्दै
- मधु शाही

(काठमाडौं)
आगोको रापसँग खेल्नु ललितपुर गोदावरी–१० का साधुराम विश्वकर्माको दैनिकी हो । विष्टबराजु (नियमित ग्राहक) को काममा थोरै पनि ढिलासुस्ती नगरी उनी बिहानैदेखि जुटिहाल्छन् । बुधबार उनको आरनमा पुग्दा फलामका औजार बनाउन उनलाई भ्याइनभ्याई थियो । ‘विष्टबराजुको काममा ढिला गर्नु हुँदैन भनेर बाउबाजेदेखि सिक्दै आएको छु,’ पुर्खौली हातेपंखा चलाउँदै फलाम तताइरहेका साधुराम भन्छन्, ‘काम छिट्टै सक्छु, समयमै बुझाउँछु ।’
उमेरले सात दशक पार गरेका उनी विष्टको सेवामा जति समर्पित छन्, उति परिश्रमको मूल्य पाउँदैनन् । वर्षभरि काम गरेबापत उनले पैसा होइन, एकपाथी अन्नबालीमा चित्त बुझाउनुपर्छ । त्यो पनि विष्ट बराजुले मनपरि हिसाबले दिन्छन् । बाउबाजेको पालामा जे जति अन्न दिइन्थ्यो, अहिलेसम्म त्यही चलन रहेको उनले सुनाए । भन्छन्, ‘उहिले पनि एकपाथी धान दिन्थे अहिले त बरु घट्दै गएको छ ।’
दलित समुदायले परम्परादेखि विष्टबराजु बनाएर सेवा गरेबापत अन्नबाली दिइने चलनलाई बालीघरे प्रथा भनिन्छ । परम्पराको नाममा निरन्तरता पाइरहेको बालीघरे प्रथा आधुनिक समयसम्म आइपुग्दा निर्मूल हुन सकेको छैन । दलित समुदायभित्रका विश्वकर्माहरूले परम्परागत कामका रूपमा हँसिया, कोदालो, कुटी, खरुवालगायत फलामका औजार बनाउँछन् भने परियारहरूले लुगा सिलाउने गर्छन् ।
साधुरामको तीन पुस्ता बालीघरेमै भर परिरहेको छ । महँगीले आकाश छुन लागे पनि श्रमको मूल्य बढ्न सकेको छैन । उनका ३० वर्षे छोरा पनि आरन चलाउँछन् । गाउँमा बेरोजगार हुनुभन्दा बाबुले गर्दै आएको काममा लाग्दा खाली बस्नु नपरेको उनको भनाइ छ । तर मेहनतअनुसारको मूल्य नपाउँदा उनको जाँगर मर्दै गएको छ । ‘दुःख धेरै गर्नुपर्छ,’ उनी भन्छन्, ‘अन्नको सट्टा पैसा माग्दा धेरैले आनकानी गर्छन् । कसैले त त्यही अन्न पनि दिँदैनन् ।’ वर्षभरि काम गरेर एक घरबाट १५ सय पनि नआउने उनले गुनासो गरे । सादुरामका पुर्खौली विष्टबराजु ३० देखि ३५ जना छन् । ‘सबैले वर्षमा अन्नको सट्टा १५ सय रुपैयाँ दिए भने पनि ५० हजार हुने रहेछ,’ साधुरामकी पत्नी कालु भन्छिन्, ‘अन्न लिएर वर्षभरि खान पुग्दैन, नुनतेल जुटाउन पनि गाह्रो पर्छ ।’
उनीहरूको आयआर्जनको स्रोत नै परम्परागत सीप हो । आरन चलाएरै परिवार पाल्नुपर्ने बालीघरे प्रथा हट्न नसकेको वडा सदस्य सुजाता विकले बताइन् । गोदावरी–१० कै ४५ वर्षीया सुनिता परियारको परिवार पनि यही प्रथामा धानिएको छ । उनी विष्टका लुगाफाटा सिलाउने गर्छिन् । ६ महिना, वर्ष दिन कुरेर अन्न थाप्न जानुपर्छ । ‘त्यही अन्नबाली पनि राम्रो परे त हुन्थ्यो नि,’ सुनिता भन्छिन्, ‘कुहिएका मकै दिएर पठाउँछन् । मन रुवाउँदै घर फर्किन्छु ।’
उनकै छिमेकी मदन परियारले पुर्खादेखि सिलाइ गर्दै आए । पढाइ छैन, विदेश जान लगानी चाहिन्छ । गाउँमै बसेर जीविकोपार्जन गर्न प्रशस्त जमिन छैन । ‘बालीघरे काम नगरे अरू उपाय छैन, काम गर्दा पनि सम्मानजनक व्यवहार नपाउँदा झनै दुःख लाग्छ,’ उनले भने, ‘पैसा दिँदैनन्, अन्न लिँन जाँदा हेपेर दिन्छन् ।’
बाँकेको राप्तीसोनारी–९ खैरी गाउँका घनश्याम विकको परिवारले पुर्ख्यौली आरन चलाउँदै आएको छ । बालीघरे कामले गुजारा नभएपछि ३२ वर्षीय घनश्याम रोजगारीका लागि काठमाडौं आए । घर बनाउने काम गर्दागर्दै महँगीले उनी आत्तिए, फेरि फर्किएर गाउँमै आरन चलाउन थाले । महँगी बढे पनि उनका विष्टबराजुले दिने अन्नबालीको मात्रा बढेको छैन । पछिल्लो समय उनले परिश्रमको मूल्य पैसामा दिन अनुरोध पनि गरे । तर, धेरै अन्नबालीमै चित्त बुझाऊ भन्दै जवाफ दिने गरेका छन् । ‘कसैले त पैसा दिइहाल्छन्, कोही चाहिँ परम्परा हो अन्न नै लैजाऊ भन्छन्,’ घनश्यामले भने ।
पाल्पाको रैनादेवी छहरा–६ खड्कबहादुर विकले चार जना छोराछोरी बालीघरे गर्दागर्दै हुर्काए । उनले अहिले पनि तीन पुस्ता पुरानो आरन चलाइरहेका छन् । ‘विष्टको सोखमा हाम्रो ज्याला अडिएको छ । मन खुसी भए दिइहाल्छन् नभए रित्तै पठाउँछन्,’ उनले भने, ‘भोकै बस्नुभन्दा थोरैमा चित्त बुझाउनुपर्ने बाध्यता छ ।’

बालीघरे प्रथाले दलित समुदायको श्रम र सीपको शोषण गरेको भन्दै विगतमा दलित आन्दोलन पनि भए । १९९७ सालमा दलित अधिकारकर्मी भगत सर्वजित विश्वकर्माको नेतृत्वमा बालीघरे प्रथाविरोधी आन्दोलन भएको इतिहास छ । परम्परागत बालीघरे प्रथाले उत्पीडित भएका दलित समुदायमाथि श्रम शोषण भएको र आर्थिक विकासमा दमन भएको भन्दै आन्दोलन चर्किएको थियो । विश्वकर्माले आरनको टुँडो भाँचेर, परियारले लुगा सिलाउने कल बन्द गरेर, सार्की समुदायले छालाको काम बन्द गरेर विरोध गर्ने घोषणा गरेका थिए ।
कुनै स्थानीय तहले बालीघरे प्रथा अन्त्य गर्न आधुनिक सीप सिकाउने तालिमको पनि व्यवस्था गरे । अर्घाखाँचीको मालारानी–५ वडामा गएको आर्थिक वर्ष १० जनालाई सुधारिएको आरन व्यवस्थापनसम्बन्धी तालिम दिइएको थियो । दलित समुदायले खुसीले सहभागी भए तर, त्यसको नजितमा भने परिवर्तन नआएको वडासदस्य विष्णु सुनार बताउँछिन् । बालीघरे काम सीप र क्षमतासँगै विभेदकारी सोचसँग जोडिएकाले अन्त्य गर्न कठिन भएको उनको बुझाइ छ । ‘तालिम पाएर राम्रै काम गरे पनि विष्टहरूले परम्परा हो भन्दै अन्नबाली नै दिन्छन्,’ उनले भनिन्, ‘परम्परा तोड्न चुनौती छ ।’

चार वर्षअघि बागलुङको काठेखोला गाउँपालिकाले बालीघरे प्रथा अन्त्य गर्ने अभियान थालेको थियो । तत्कालीन वडा सदस्य सुन्तली विकको अध्यक्षतामा ‘बालीघरे प्रथाविरुद्ध साझा अभियान’ चलेको हो । घरदैलोमा पुगेर दलित समुदायलाई आर्थिक व्यवसाय गर्न सुझाव दिइएको थियो । अभियानपछि गाउँपालिकामा ७० प्रतिशत दलितले बालीघरे प्रथालाई रूपान्तरण गरेर आर्थिक व्यवसाय अपनाउन थालेको काठेखोला–३ का वडाध्यक्ष कुलबहादुर विकले बताए । उनका अनुसार बालीघरेसँगै हलिया प्रथा गाउँमा अझै कायम छ । यसलाई हटाउने थप योजना बनाउन लागिएको उनले बताए । ‘दलितले नै पैसा विना काम नगर्ने भन्ने सिकाएपछि प्रथा हट्न थालेको छ,’ उनले भने, ‘बिस्तारै पुरै हटाउँछौं ।’
नेपालगन्जमा २०६२/६३ तिर अधिकारकर्मी ५८ वर्षे रेशम परियारको नेतृत्वमा बालीघरे र खली प्रथाविरुद्ध अभियान थालिएको थियो । विभिन्न संघसंस्थाको सहयोगमा दुई वर्षसम्म लगातार प्रथा विरोधी अभियानका गतिविधि गरिएको रेशमको भनाइ छ । एउटा पाइन्ट सिलाएको वर्षभरि एक पाथी धान दिन्थे । पछि लुगा सिलाएको ज्याला उचित रकममा लिन थालेपछि दलित समुदायको आर्थिक अवस्थामा सुधार आएको रेशमको अनुभव छ । उनी भन्छन्, ‘परियार समुदायमा बालीघरे प्रथा निकै कम भइसकेको छ, यद्यपि सुदूरपश्चिमतिर बाँकी छ ।’
अनुसन्धानकर्ता सीताकुमारी विश्वकर्माले ‘बालीघरे प्रथा र दलित समुदायमा पारेको प्रभाव’ विषयमा शोध गरेकी छन् । सामाजिक समावेशीकरण अनुसन्धान कोषको लागि प्रस्तुत गरिएको प्रतिवेदनमा बागलुङ जिल्लाका तीन बस्तीका दलित समुदायको पेसागत अवस्था पारे नमुना अध्ययन गरिएको छ । जसमा ५८ घर दलित समुदायको घरधुरीमध्ये ४७ प्रतिशत दलित समुदाय बालीघरे पेसामा आबद्ध भएको तथ्यांक छ । ७७ प्रतिशत फलामको काम गर्छन् भने २३ प्रतिशत कपडा सिलाउने तथा बाजा बजाउने गर्छन् । बालीघरे प्रथा अपनाउँदै आएकामध्ये ८०.७० प्रतिशतले आर्थिक आय राम्रो नभएको बताएका छन् । प्रतिवेदनमा दलितहरूले बालीघरे पेसा गरेबापत वार्षिक प्रतिघर ४ देखि १० पाथी मकै, १ देखि ५ माना फापर पाउने गरेका छन् । जसअनुसार बालीघरे पेसा अपनाउने दलितको औसत परिवार संख्या ५ जना छन् । उनीहरूलाई ३ महिनासम्म पनि खान नपुग्ने अवस्था अनुसन्धानले देखाएको छ ।
बालीघरे प्रथा हटाउन विभिन्न समयमा दलित समुदायले आफ्नै शैलीले विरोध गरिआए पनि राज्यस्तरबाट केही भएको छैन । अधिकारकर्मी जेबी विश्वकर्माका अनुसार दलित समुदायलाई पृथ्वीनारायण शाहको पालादेखि नै श्रमको आधारमा दास प्रथा कायम गर्ने परम्परा बसेको थियो । सीपको आर्थिक रूपान्तरण गराउँदा दलितको पुँजीमाथि अधिकार हुन्छ भन्ने मान्यता थियो । पुँजीले अधिकार र प्रश्न गर्ने हिम्मत जुटाउछ । जसले गर्दा दासत्व कम हुँदै जाने डरले शासकले दलितको श्रमको नियन्त्रण गर्न खोजिएको उनको मत छ ।
‘अहिलेसम्म पनि जीवित कुप्रथा हुनुको कारण दमित दास मनोभावको संकेत हो,’ उनी भन्छन् । संविधानले सबै प्रकारका विभेद र शोषण हटाउनुपर्छ भनिरहँदा बालीघरे दास प्रथा पनि एउटा मुल मुद्दा पर्छ । तर, यसको मुख्य जिम्मेवारी जनप्रतिनिधिको हुने विश्वकर्माको बुझाइ छ । आधुनिक सीपको विकास गर्ने, आयआर्जनको वैकल्पिक बाटो देखाउने र जागृत गराउन सके बालीघरे प्रथाको अन्त्य हुने उनको भनाइ छ ।

समाचार

गाउँमा काम छैन, भोको पेटले मान्दैन

‘सरकारले सञ्चालन गर्ने विकासे योजनाहरुमा रोजगारी दिने विकास चाहिएको छ, रोजगारी दिने विकास भए कसैले गाउँ छोड्नु पर्दैन’
- विद्या राई
मुगुको छायानाथ रारा–१३ लुमका देवसिंह खड्कासहितका गाउँले स्थानीयस्तरमा रोजगारी नहुनुले परेको मर्का सुनाउँदै  । तस्बिर: विद्या/कान्तिपुर

(मुगु)
हुम्ला जोड्ने सडकमा काम पाएपछि छायानाथ रारा नगरपालिका लुमकी रामसरा कामीका दैनिकी फेरिए । उनका श्रीमान्ले मजदुरी गर्न भारत जानुपरेन । सडक निर्माणमा मजदुरी गरेर उनले पनि श्रीमान्कै सरह ज्याला पाइन् । मनग्य कमाइ हुन्थ्यो । छोराछोरीले नियमित विद्यालय जान पाए । नुन, तेल, चामल र लुगाफाटो किन्न ऋणपान गर्नुपरेन । सपरिवार सँगै बस्न पाउँदा खुसियाली थियो । उनलाई लाग्थ्यो, ‘श्रीमान्ले कमाइ गर्न इन्डिया जानुपर्ने दुःख काटिए ।’ ग्रामीण पहुँच कार्यक्रम (तेस्रो चरण र्‍याप) अन्तर्गत २०७५ मंसिरदेखि ०७९ जेठसम्म मुगु–हुम्ला लिंकरोड निर्माणका क्रममा आसपास गाउँका बासिन्दा रामसराजस्तै पुकलित थिए ।
सडक निर्माणमा ४ हजार ४ सयभन्दा बढी स्थानीयवासीले काम पाएपछि मुगुको छायानाथ रारा नगर र हुम्लाको चंखेली गाउँपालिकाका बासिन्दाले मौसमी कामका लागि भारत जानुपरेन । ६७ किलोमिटर सडकको निर्माण कार्य जब सम्पन्न भयो, खानकै जोहो गर्न भारत जानुपर्ने नियति फेरि दोहोरियो । गत असोजमा आएको बाढीपहिरोले घर बगेपछि १३ परिवार बिचल्लीमा परेका छन् । उनीहरू छिमेकीको गोठ, पालमा ओत लागेका छन् । रामसराका श्रीमान् कमाउनलाई फेरि केही महिनाअघि भारत गएका छन् । ‘बस्ने बास छैन, खाने गाँस छैन, गाउँमा काम छैन, बड्डा (श्रीमान्) इन्डिया गइगए । नगएर के गर्नु, भोको पेटले मान्दैन,’ उनले भनिन् ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको २०१९ को ‘नेपालको आप्रवासन प्रोफाइल’ मा जनगणना–२०६८ मा अनुपस्थित ३७.२ प्रतिशत नेपाली भारतमा छन् ।
कर्णाली प्रदेशका बासिन्दाहरूका लागि भारत रोजगारीको मुख्य गन्तव्य रहँदै आएको छ । उनीहरू खेतीको सिजनमा गाउँ फर्कन्छन् । खेती भित्र्याएपछि भारत जान्छन् । जलवायु परिवर्तन, वातावरणीय ह्रास, प्राकृतिक र मानव निर्मित प्रकोपहरूले खेतीयोग्य जमिन र उत्पादनमा क्षति पुर्‍याएपछि जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा निर्भर हुनुपरेको छ ।
सडक निर्माणले गर्दा लुमकै अर्का स्थानीय ७० वर्षीय धनपति खड्कालाई पनि बुढेसकालमा छोराबुहारीको सहारा मिलेको थियो । हिउँदमा सधैं भारत जाने छोराबुहारीले सडक निर्माणमा काम पाएका थिए । केही समय गर्जो टार्न भारत जानुपरेन । सडक बनिसकेपछि रोजगारी पनि सकियो । दसैं/तिहार मनाएर तीन वर्षअघिझैं कमाउन भारत गए । ‘रोडले गर्दा सुबिस्ता आएको थियो, छोराबुहारी साथै रहने भए भन्ने लागेको थियो । रोडको रोजगारी सकिएपछि इन्डिया गइगए,’ खड्काले भने । मुगु सदरमुकाम गमगढीदेखि तीन घण्टा पैदल दूरीमा पुगिने लुम गाउँमा डेढ सय परिवार छन् । रामसरा र धनपतिको परिवारमा जस्तै कमाउन भारत नगएका कुनै घर छैनन् ।
भौगोलिक विकटता भएको यो ठाउँ राज्यको नजरमा समेत विकासमा पछाडि परेको छ । खेतीपातीबाट उब्जनी पर्याप्त नहुँदा बाल्यकालबाटै ६ महिना परदेसिनुपर्ने जानेका उनीहरूले सडक निर्माण परियोजनाबाट विकास निर्माण भए गाउँमै रोजगारी पाइने थाहा पाए । सडक परियोजनामा स्टोर किपरको काम गरेका रुगा गाउँका २६ वर्षीय रूपकर्ण थापाले भने, ‘रोडमा काम पाउन्जेल गाउँमै बसेकाहरू भटाभट इन्डिया गइसके ।’ १ सय ५६ परिवार बसोबास गर्ने रुगा गाउँका सबैजसो भारत गइसकेका छन् । ‘सरकारले सञ्चालन गर्ने विकासे योजनाहरूमा रोजगारी दिने विकास चाहिएको छ, रोजगारी दिने विकास भए कसैले गाउँ छोड्नु पर्दैन,’ उनले भने ।


गरिबी, विपन्नताले गर्दा शैक्षिकस्तर उक्सन नसकेको र यसले जनजीवन फेर्न अवरोध भइरहेको स्थानीय प्रकाश माविका शिक्षक रतनबहादुर राउतले बताए । १ देखि १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी छन् । तर कक्षा चढ्नेको संख्या सधैं कम हुन्छ । गरिबीकै कारण माथिल्लो कक्षामा विद्यार्थीको संख्या घट्दै जाने गरेको राउत बताउँछन् । ‘विद्यार्थीले न पढाइमा ध्यान दिन पाउँछन्, न उच्च शिक्षा पढ्न । अनि बाबुआमाले झैं ६ महिना खेतीपाती गर्ने ६ महिना भारत जाने, जीविका चलाउन मात्रै हुन्छ । शैक्षिकस्तर नउक्सेपछि विकटता रहिरहने रहेछ,’ उनले भने ।
मुगुका गाउँहरूमा मुस्किलले १० कक्षासम्म पढेका विद्यार्थी पाइन्छन् । यसपछि माथिल्ला तहमा पढ्न सदरमुकाम वा जिल्ला बाहिर जानुपर्छ । अधिकांश परिवारमा सन्तानको उच्च शिक्षाका लागि लगानी गर्ने हैसियत पुग्दैन । बरु उल्टै कमाउन अभिभावकलाई सघाउनुपर्ने हुन्छ । आईएलओ नेपालले गतवर्ष प्रकाशन गरेको ‘नेपालको बालश्रम स्थिति’ ले समेत कर्णाली प्रदेशको सहरी र ग्रामीण दुवै क्षेत्रमा बालश्रम दर उच्च (२४.६ प्रतिशत) रहेको देखाएको छ ।
१४ देखि १७ वर्षका बालबालिकाहरूको अनुभव विश्लेषणले घरायसी कामकाज, भाइबहिनीको हेरचाह तथा आयआर्जनमा अभिभावकहरूलाई सघाउनुपर्ने हुँदा पढ्दापढ्दै विद्यालय छाड्छन् ।
छायानाथ रारा–१३ का वडाध्यक्ष वीरबहादुर खड्काका अनुसार गमगढीदेखि लुम हिँडेर पुग्न तीन घण्टा लाग्छ । विकास योजना पर्याप्त नभएपछि जीवनस्तर उकास्न धौधौ परिरहेको उनले बताए । ‘सदरमुकामको नजिक भएर के गर्ने, नगरको काखैमा छौं, पछाडि छौं । शिक्षा राम्रो छैन, राम्रो शिक्षा पाउन आर्थिक चाहिन्छ, यहाँका मानिससँग आर्थिक छैन,’ उनले भने, ‘यो रोड निर्माण हुन्जेल स्कुल जाने बढेका थिए, विकाससँगै रोजगारी पो चाहिने रहेछ भन्ने त बुझियो ।’ सरकारले वडास्तरमा जनसंख्या र भूगोलका आधारमा बजेट र योजना उपलब्ध गराउनुपर्ने उनले बताए ।
 मुगुका चार स्थानीय तहमध्ये छायानाथ रारा एक मात्रै नगरपालिका हो । सदरमुकाम गमगढी यही नगरमा पर्छ । २०६८ सालको जनगणनाअनुसार यस नगरको जनसंख्या २० हजार ७८ छ । नगरपालिकाको ४८ हजार ६९ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४ सय ३ हेक्टरमात्रै खेतीयोग्य जमिन छ । अधिकांश नगरवासीहरू कृषिमा निर्भर भए पनि जमिन भिरालो भएकाले मलिलो माटो बर्सेनि बग्दै जाँदा खेतीपाती पर्याप्त हुँदैन ।
उब्जनीले मुस्किलले बढीमा ६ महिनामात्रै खान पुग्छ । जसले गर्दा स्थानीयले जीविकोपार्जनमा कठिनाइ खेप्दै आएका छन् । बढ्दो जनसंख्यालाई खाद्य असुरक्षा हुँदा बालबालिका तथा महिलामा कुपोषण हट्न नसकेको छायानाथ रारा नगरपालिका मुगुको बहुक्षेत्रीय पोषण पार्श्वचित्रमा उल्लेख छ ।

Page 3
समाचार

नयाँ गठबन्धनको कसरतमा एमाले

माओवादी र एकीकृत समाजवादीसँग संवाद िसहकार्यका लागि पाँचदलीय गठबन्धनबाट बाहिरिनुपर्ने सर्त िशक्ति बाँडफाँटमा उदार बन्ने रणनीति
- बबिता शर्मा

(काठमाडौं)
शक्ति बाँडफाँटले कांग्रेस र माओवादी केन्द्रबीच विवाद बढेर सत्ता गठबन्धनमा तिक्तता पैदा हुने आकलनसहित एमालेले वैकल्पिक गठबन्धन निर्माणको गृहकार्य गरिरहेको छ । सत्ता गठबन्धन भत्काएर आउने दलहरूसँग शक्ति बाँडफाँटमा उदार रहने रणनीतिका साथ एमालेले अनौपचारिक तहबाट कसरत थालेको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले निकट नेताहरूमार्फत माओवादी र एकीकृत समाजवादीसँग संवाद अघि बढाएका छन् । तर ती दललाई सहकार्यका लागि पहिला सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने सर्त अनौपचारिक रूपमा राखिएको छ । ‘सम्बन्ध सुधारका लागि भेटघाट भइराखेका छन् । पहिला त माओवादी अहिलेको गठबन्धनबाट बाहिरिनुपर्‍यो,’ एमालेका एक पदाधिकारीले भने, ‘त्यसपछि बल्ल सरकार गठन र शक्ति बाँडफाँटको विषयले प्रवेश पाउने हो ।’
फरक–फरक स्वार्थसहित वैकल्पिक गठबन्धन र शक्ति बाँडफाँटका सम्भावित विकल्पमाथि एमाले र माओवादीभित्र छुट्टाछुट्टै जोडघटाउ चलिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति बाँडफाँटमा कांग्रेसले सम्मानजनक व्यवहार नगरे विकल्प सोच्न सकिने बताइसकेका छन् । कांग्रेस वा एमाले जोसँग सहकार्य गरेर भए पनि पहिलो कार्यकाल आफैं प्रधानमन्त्री बन्ने दाहालको चाहना छ ।
सत्ता गठबन्धन कायम रहेसम्म केन्द्र र प्रदेश दुवैतिर आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने भएकाले एमालेको जोड गठबन्धन भत्काउनेमै छ । गठबन्धन भत्किए कांग्रेसलाई बहुमत नपुग्न सक्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वमा जसपा र राप्रपासहितको तालमेल थियो । प्रतिनिधिसभामा एमालेको ७८, राप्रपाको १४ र जसपाको १२ सिट छ । बहुमत १ सय ३८ पुर्‍याउन थप ३४ सिट चाहिन्छ । माओवादी थपिए १ सय ३६ सिट हुन्छ । एकीकृत समाजवादीको १० सिट पनि जोडिँदा बहुमत पुग्छ ।
माओवादी गठबन्धनबाट बाहिरिए ऊसहित एमाले, राप्रपा, जसपालगायत दल मिलेर सरकार बनाउन पहल हुने ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘पहिला पहल कसले गर्ने भन्ने छ । माओवादी हामीसँग संवादमा आए सकारात्मक ढंगले अघि बढ्छौं । तर यस्तो संवाद सुरुमा दोस्रो तहबाट हुनुपर्छ । यसका लागि केही प्रयास भइरहेका छन्,’ उनले भने ।
ओलीले माओवादीका महासचिव देव गुरुङमार्फत सत्ता गठबन्धन भत्काए सहकार्य गर्न सकिने सन्देश पठाइसकेका छन् । गुरुङले मंगलबार ओली निवास बालकोट पुगेर झन्डै दुई घण्टा छलफल गरेका थिए । ‘गठबन्धन भत्काए सहकार्य गर्न तयार छौं भनेर उहाँले सार्वजनिक रूपमा नै भन्दै आउनुभएको छ,’ गुरुङले भने । उनी माओवादीभित्र वाम शक्तिहरूबीचको एकतामा जोड दिँदै आएका नेतामध्येका एक हुन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले केही दिन अगाडि खुमलटार पुगेर माओवादी अध्यक्ष दाहालसँग सहकार्यका सम्भावित विकल्पमाथि छलफल गरेका थिए । उपाध्यक्ष पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरिसकेका छन् । स्रोतका अनुसार पौडेल ओली–दाहाल र ओली–नेपालबीच सम्बन्ध सुधारको पक्षमा छन् ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत नेताले विगतका ‘तीता अनुभव’ भुलेर वाम शक्तिहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । उपाध्यक्ष नेम्वाङले सम्पूर्ण प्रक्रियामा भाग लिने र सबै दलसँग छलफल गरेर अगाडि बढ्ने बताउँदै आएका छन् । ‘अहिलेको म्यान्डेटअनुसार सबै मिलेर अघि बढ्नुपर्नेछ । त्यसको मतलब सरकार नै बनाउनुपर्छ भन्ने छैन । तर लोकतन्त्रको मूल्यमान्यता अनुरूप अघि बढ्नुपर्‍यो,’ उनले भने, ‘त्यसका लागि हामी माओवादीसँग मात्रै होइन, सबै दलसँग संवाद गर्दै छौं, सम्पर्कमा छौं ।’
उपमहासचिव गुरुङले केही दिनअघि एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसँग भेट गरेका थिए । ‘अध्यक्षको अनुमतिमा केही भेटघाट भएका हुन् । वाम सरकार बनाउने कुरामा माधव कमरेड पनि नकारात्मक हुनुहुन्न,’ उनले भने । गुरुङले माओवादी केन्द्रका दोस्रो तहका नेता र जसपाका नेताहरूसँग पनि भेटघाट गरेका थिए । स्थायी कमिटी सदस्य रघुवीर महासेठले माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाललाई भेटेका थिए । ‘कुनै समय आफूले मानिआएका नेताहरू हुनुहुन्छ । त्यसकारण भेटेर चुनाव जितेकामा शुभकामना आदानप्रदान भयो । अरू खास कुराकानी भएन,’ महासेठले भने । एमालेले एक/दुई दिनमा देखिने गरी संवाद सुरु गर्न सक्ने उनको भनाइ छ । ‘राष्ट्रपतिबाट आह्वान भएपछि सबैतिरबाट नयाँ सरकार गठनको चलखेल सुरु होला,’ उनले भने, ‘तर, प्रचण्डजीहरू अहिले पनि गठबन्धन सरकारलाई नै अगाडि बढाउने सोचमा हुनुहुन्छ ।’
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताले पनि माओवादी अध्यक्ष दाहालसँग भेट गरिसकेका छन् । एमाले महासचिव शंकर पोखरेललगायत केही नेता मुलुकलाई स्थायित्व दिने गरी कांग्रेससँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । उनले राजनीति दुई पार्टीमा ध्रुवीकरण नहुँदासम्म देशमा राजनीतिक स्थायित्व कायम नहुने मत राख्दै आएका छन् ।
 केन्द्रमा अघोषित गृहकार्यमा लागेको एमाले प्रदेश सरकार गठनमा भने सक्रिय देखिएको छ । प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतमा एमालेले सरकार गठनको कसरत जारी राखेको छ । संघीय सरकारसँगै प्रदेश सरकारमा पनि दलहरूबीच भागबन्डा हुने भएकाले अहिले प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित भइसकेको छैन । प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा एमाले पहिलो दल छ । प्रदेश १ को ९३ सिटमा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ, जहाँ एक्लै ४० सिट जितेर एमाले पहिलो दल छ । राप्रपा र जसपासँग सहकार्य गरे एमाले नेतृत्वको सरकार सम्भव हुनेछ ।
मधेसमा बहुमतका लागि ५४ सिट चाहिन्छ । प्रदेशको एक सय सात सिटमा एमाले २३ सिट जितेर ठूलो दल बनेको छ । एमालेले जनमत, जसपा, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादीसहित दलको समर्थन जुटाए आफ्नै नेतृत्वमा सरकार गठन गर्न सक्छ । लुम्बिनीमा २९ सिट जितेर एमाले पहिलो दल भएको छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।

Page 4
वाग्मती प्रदेश

३ कांग्रेस नेतालाई कारबाही सिफारिस

- ज्योति श्रेष्ठ

(काभ्रे)
हालै सम्पन्न आम निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही माग गरी केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।
पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्ने कांग्रेस काभ्रेले माग गरेको हो । निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं–२ मा उम्मेदवार रहेका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई अन्तर्घात गरी असहयोग गरेको, केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा निर्वाचन प्रचार अभियानमा मत माग्न नहिँडेको, विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाही गरी केन्द्रमा सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।
निर्वाचन अभियानमा सहभागी नभएको र आफू प्रदेशभरको जिम्मेवारीमा रहेको भन्दै व्यस्त कार्यतालिका सुनाएर गठबन्धन उम्मेदवारलाई मत नमागेको केन्द्रीय सदस्य आचार्यमाथि आरोप छ । वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर गोकुल बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको उनीमाथि परेको उजुरीमा उल्लेख छ । उम्मेदवारलाई भेट नदिएको, निकटका सबै कार्यकर्तालाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको उनीमाथि आरोप छ । यस्तै, केन्द्रीय सदस्य लामामाथि निर्वाचन अभियानमा उपस्थित नभएको, आफू निकटका साथीलाई सूर्य चिह्नमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको आरोप छ । सार्वजनिक रूपमा ‘यो पटक सूर्यमा मतदान गरी चन्द्र लामालाई जिताउनु, अर्को पटक उसले मलाई सहयोग गर्छ’ भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको उजुरीमा उल्लेख छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेलले क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, क्षेत्रीय सभापतिका तर्फबाट मातहतको संगठन वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र वडा अध्यक्षका उम्मेदवार, नेता ार्यकर्तालाई बोलाई गोकुल बाँस्कोटालाई भोट हाल्न दबाब दिने र पैसासमेत बाँडेको भन्दै उजुरी परेको छ ।
बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई कांग्रेस काभ्रेले निर्देशन दिने निर्णय गरेको छ ।

वाग्मती प्रदेश

वाग्मतीमा २० दिनभित्र नयाँ सरकार

गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्दा सरकार गठन गर्न सहज बहुमत
- सुवास बिडारी
प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई निर्वाचन आयोगको प्रतिवेदन बुझाउँदै सचिव गोकर्णमणि दवाडी ।

(मकवानपुर)
वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि औपचारिक रूपमा बाटो खुलेको छ । निर्वाचन आयोगले शनिबार वाग्मती प्रदेशसभाका लागि निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पेस गरेसँगै सरकार निर्माणको बाटो खुलेको हो ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश प्रमुख कार्यालय हेटौंडा–१० मा पुगेर प्रदेश प्रमुख शर्मालाई प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन पेस गरेका हुन् । प्रदेशसभा सचिवालयले नयाँ अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखबाट पत्राचार भएसँगै सदन सञ्चालनको प्रक्रियासमेत अगाडि बढ्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रतिवेदन बुझाएको मितिले २० दिनभित्र प्रदेशसभाको नयाँ अधिवेशन बोलाइसक्नुपर्ने व्यवस्था छ ।
‘हामीले प्रदेशसभाको बैठक बस्नका लागि सबै तयारी पूरा गरिसकेका छौं । केही दिनभित्र शपथग्रहण गर्ने गरी हामी तयारी अवस्थामा छौं ।’ प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेश प्रमुखको कार्यालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए । निर्वाचित प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सदस्यको शपथग्रहण प्रदेश प्रमुखबाट हुने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यबाट अन्य सांसदलाई शपथ गराइनेछ । ‘ज्येष्ठ सदस्यको अध्यक्षतामै प्रदेशसभाको पहिलो बैठक बस्नेछ । त्यसपछि सभामुख चयन प्रक्रिया अगाडि बढ्नेछ । ‘सभामुख छनोटपश्चात् उपसभामुख छनोट प्रक्रिया भने सदनकै कार्यव्यवस्था परामर्श समितिले तय गर्नेछ,’ उनले प्रदेशसभाको पहिलो बैठकअघि सर्वदलीय बैठक राखेर आवश्यक परामर्श र छलफल गरिने बताए ।
प्रदेशसभा सचिवालयले नयाँ सरकार गठन अगाडि नै शपथग्रहणलगायत सम्पूर्ण विषय टुंग्याइसक्ने गरी तयारी गरेको छ । ‘नयाँ अधिवेशन आह्वान हुनुअगाडि नै सरकार गठन हुने देखिन्छ । त्यसकारण हामी केही दिनभित्रै शपथग्रहणलगायत विषय टुंग्याउँछौं ।’ प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार शपथग्रहण सकिएसँगै प्रदेशसभाको नयाँ अधिवेशन र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने बताइएको छ । निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भएपश्चात् कानुनी व्यवस्थाअनुसार छिट्टै अगाडि बढ्ने प्रतिबद्धता प्रदेश प्रमुख शर्माले व्यक्त गरेका थिए ।
हालकै अवस्थामा वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनको सरकार बन्ने निश्चित छ । हाल गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा सरकार गठन गर्न सहज बहुमत पुग्ने अवस्था प्रदेशमा रहेको छ । सरकारको नेतृत्व कुन पार्टीले गर्ने विषयमा अझै सहमति भएको छैन । जसका कारण दलहरू केन्द्रीय निर्देशन कुरेर बसिरहेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूला दल विशेष गरी कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र हाल संसदीय दलको नेता बन्नका लागि आन्तरिक कसरत भइरहेको छ । संसदीय दलका नेता भएको खण्डमा मुख्यमन्त्री हुन सहज हुने भएका कारण आन्तरिक दौडमा नेताहरू होमिएका हुन् । आयोगका अनुसार प्रदेशमा ३३ वटा दलको धरौटी जफत भएको छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४ सय १७ र महिला उम्मेदवार ६७ जना गरी कुल ४ सय ८४ जनाको धरौटी जफत भएको छ ।
प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल १ सय १० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा १ सय १० जना निर्वाचित सदस्यमध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएका छन् ।
प्रतिवेदनअनुसार प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकोमध्ये प्रत्यक्षतर्फ पुरुष ५ सय ८८ र महिला ८० गरी कुल ६ सय ६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिकतर्फ कुल ७ सय ५४ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो ।
प्रदेशमा महिला १७ लाख ३३ हजार ३ सय ७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कुल ३४ लाख ७१ हजार ४ सय ९२ मतदाता कायम रहेका थिए । प्रत्यक्षतर्फ २१ लाख ४ हजार ५ सय ७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएकामा ७६ हजार ९ सय ३८ (३ दशमलव ६६ प्रतिशत) मत बदर भएको थियो । समानुपातिकतर्फ २० लाख ९९ हजार १ सय ७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएकामा १ लाख २५ हजार ६ सय ३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो ।

वाग्मती प्रदेश

‘मेट्रो रेल नल्याई सुखै छैन’

१५ वर्षपछि उपत्यकाको जनसंख्या ६० लाख पुग्ने भएकाले अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि मेट्रो अपरिहार्य: मेयर महर्जन

ललितपुर (कास)– ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी सुरु गर्नुपर्ने बताएका छन् । मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुको सट्टा मेट्रो रेल सञ्चालन अबको आवश्यकता रहेको उनले बताए ।
शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा महर्जनले उपत्यकामा मेट्रोको विकल्प नरहेको भनाइ राखेका हुन् । ‘मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु पनि भएन,’ उनले भने । अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै उनले यसमा ढिलाइ गर्न नहुने बताए । सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै उनले काठमाडौं र ललितपुर महानगरपालिका लगायत उपत्यकाका १८ वटै पालिकाको भूमिका यसमा हुनुपर्नेमा जोड दिए ।
मेट्रो रेल सञ्चालनका लागि विशेषगरी काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका रहनुपर्ने उनको भनाइ थियो । ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनैपर्छ । आज निर्णय गर्न सक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ,’ उनले भने, ‘अबको १५ वर्षपछि काठमाडौं उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? यसको निमित्त हामीले मेट्रो नल्याईकन सुखै छैन ।’

वाग्मती प्रदेश

न्यायालयबाटै राष्ट्रपति बनाउने षड्यन्त्र: बिजुक्छे

भक्तपुर (कास)– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । खिलराज रेग्मीलाई मन्त्रिपरिषद्‍को अध्यक्ष बनाएजसरी नै भारतले राष्ट्रपति पनि न्यायालयभित्रैबाट बनाउने प्रयास गरिरहेको उनको भनाइ थियो ।
भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसका अवसर पारेर शनिबार आयोजित कार्यक्रममा उनले भारतको छायामा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरूले संघर्ष गर्नुपर्ने बताए । प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णयअनुसार हुने गरेको जिकिर गर्दै उनले भने, ‘हामीलाई रासायनिक मलको कारखाना हुनुपर्छ भनेर बारम्बार भनिरहेका छौं, भारतले मान्दैन भनेर कारखाना बनाउन भनेपछि मन्त्रीहरू थर्कमान हुन्छन् ।’
खिलराज रेग्मीलाई लक्षित गर्दै उनले न्याय प्रशासनका व्यक्तिलाई प्रधानमन्त्री बनाएजस्तै अहिले राष्ट्रपति बनाउने कुरा धेरै जटिल विषय भएको बताए । ‘यहाँ अन्तर्राष्ट्रिय छाया परेको हुनाले देशलाई अझ संकटमा पुर्‍याउने सम्भावना छ,’ उनले भने । भारतले नेपालको जलस्रोत उपयोगको चाबी आफ्नो हातमा लिएर उद्योगहरूलाई निजीकरण गरी आफ्नो इसारामा चलाएको उनको आरोप थियो ।

Page 5
समाचार

'प्रतिबद्धता आए सरकारमा जान्छौं'

प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत संघीय सरकारमा सहभागी हुन तयार देखिन्छन् । मधेस प्रदेशसभामा पार्टीलाई १३ सिटसहित निर्णायक बनाएका उनले मुख्यमन्त्रीको दाबी पनि गरिरहेका छन् । जापान र बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा पढेका र अमेरिकाको प्रतिष्ठित ‘रेथन बीबीएन टेक्नोलोजिज’ मा कार्यरत रहेकै अवस्थामा पृथकतावादी ‘आइडियोलोजी’ बोकेर राजनीतिमा आएका राउत अहिले त्यो बाटो छाडिसकेको बताउँछन् । दशकौंदेखि यादव र उच्च जातिका मानिसको हातमा रहेको मधेसको राजनीतिमा सप्तरी र सिरहामा मात्र बसोबास गर्ने राजधोब समुदायका राउत एकाएक उदाएका छन् ।
उनको तत्कालको ध्यान भने सरकारमा सहभागी भएर मधेसको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्नेमा देखिन्छ । राउतसँग बुधबार कान्तिपुरकर्मी तुफान न्यौपाने र सन्तोष सिंहले गरेको अन्तर्वार्ता:

सबै दलका केन्द्रीय नेता काठमाडौंमा भेटिन्छन्, तपाईंलाई खोज्नचाहिँ जनकपुर आउनुपर्‍यो । स्थायी रूपमै जनकपुरमा किन बसिरहनुभएको छ ?
सधैं काठमाडौंकेन्द्रित राजनीति हुँदै आएको छ । हामीले परिवर्तन चाहेका छौं । आफ्ना प्रतिनिधि खोज्न जनताले सधैं काठमाडौं धाउनुपर्ने बाध्यता किन ? म त्यसलाई तोड्न पहिलेदेखि नै जनताको बीचमा बस्दै आएको छु । सुरुमा सप्तरीको राजविराजमा बसें, त्यसपछि जनकपुरमा बस्दै आएको छु । यसले दिने सन्देश ठूलो छ । आगामी दिनमा सदन चलिरहेका बेला त संसद्मा उपस्थित हुनैपर्‍यो । बाँकी समय आफ्नै निर्वाचन क्षेत्र र अन्य भागका जनताको बीचमा बिताउनेछु । जनताका समस्या बुझ्ने र त्यसलाई निवारण गर्ने प्रयास गर्नेछु ।

अहिलेसम्म मधेसमा निर्वाचन जित्न पैसा, पारिवारिक विरासत वा ॅजातीय जनसांख्यिक लाभ’ निर्णायक देखिन्थ्यो । तपाईंलाई यी कुनै पनि 'फ्याक्टर’ को अनुकूलता नभएजस्तो देखिन्छ । तैपनि केको बलमा जित्नुभयो ?
मधेसका जनताले यस पटक निर्वाचनमार्फत ठूलो राजनीतिक सन्देश दिएका छन् । ‘जनता पैसामा बिक्छन्, पारिवारिक विरासत भएका ठूलाबडा नेतालाई मात्रै जिताउँछन्, कुनै खास जाति र समुदायका नेतालाई नै जिताउँछन्’ भन्ने अहिलेसम्मको भाष्यलाई जनताले तोडेका छन् । उनीहरूले आफ्ना लागि संघर्ष गर्नेलाई जिताएका छन् । सप्तरीबाट मेरो जितको सन्दर्भ भने एक दशकसम्म मैले जनताको बीचमा रहेर गरेको संघर्षसँग जोडिन्छ । यसबीचमा म काठमाडौंसमेत नगई जनताको घरदैलोमा केन्द्रित भएको थिएँ । हरेक परिवारसँग व्यक्तिगत तहको भावनात्मक सम्बन्ध स्थापित भएको थियो । त्यो नै जितको आधार हो ।

तपाईंका बारेमा धेरै जानकारी सार्वजनिक रूपमा उपलब्ध छैनन् । तपाईंको व्यक्तित्व मिथकजस्तो छ । तपाईंले पार्टीको एजेन्डाबाट भन्दा पनि यही मिथकीय व्यक्तित्वका बलमा पो चुनाव जित्नुभएको हो कि ?
सधैं जनताका बीचमा बसेर उनीहरूको समस्या सुन्दै आयौं । त्यस क्रममा जनताकै बीचबाट पटक–पटक अकारण पक्राउ परियो । जनताले तत्काल कुनै प्रतिक्रिया नजनाए पनि हेरिरहेका थिए, यो मान्छेमाथि अन्याय भइरहेको छ भन्ने महसुस गरिरहेका थिए । यो मान्छे सबै कुरा छाडेर यहाँ हाम्रा लागि योगदान गर्न आएको छ तर यसलाई कुनै काम गर्न र बोल्नसमेत दिइएको छैन । त्यसमा पक्कै केही कारण होला भन्ने उनीहरूलाई लागेको थियो । जितको कारण त्यही हो ।

हिजो जुन शक्तिहरूको आडमा पृथकतावादी आन्दोलन चलाउनुभयो, आज तिनै शक्तिको इसारामा मूलधारमा आउनुभएको हो भन्ने आरोप छ नि ?
त्यो बेग्लै परिस्थिति थियो । अहिले नयाँ संविधान जारी भयो । संघीयता र गणतन्त्र संस्थागत भयो । अधिकार स्थानीय तहसम्म पुग्यो । बदलिएको परिस्थितिमा संविधानको दायराभित्र रहेर पनि जनताको परिवर्तनका आकांक्षालाई पूरा गर्न सक्छौं भन्ने विश्वासका साथ बाटो फेरेका हौं । हामीले २०७४ को निर्वाचनमा भाग लिँदा नै बाटो परिवर्तनको कुरा निर्क्योल भइसकेको थियो तर त्यसपछि पनि हामीलाई काम गर्न दिइएन । म नजरबन्दमा थिएँ । कार्यकर्तालाई सामाजिक गतिविधि गर्न दिइँदैनथ्यो । २०७४ को निर्वाचनमा जनताले हामीलाई ‘तपाईंहरू पनि पार्टी दर्ता गरेर चुनाव चिह्न लिएर आउनुहोस्’ भने । त्यसैले हामीले पुनर्विचार गरेका हौं । संविधानको सर्वस्वीकार्यता बढेपछि हामी पनि पार्टी निर्माणको प्रक्रियामा लागेका हौं ।

जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्ने गरी सरकारले ल्याएको अध्यादेशको समर्थन गर्नुभएको छ, जनमत पार्टीका कति नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने छ ?
हाम्रो कोही पनि नेता–कार्यकर्ता थुना वा हिरासतमा छैनन् । तैपनि हामी यो अध्यादेशको समर्थन गर्छौं । कुनै पर्चा फेला परेका आधारमा मात्र राज्यले जन्मकैदको माग गरेर मुद्दा लगाएको छ । ‘फ्रि सीके राउत’ लेखेको प्लेकार्ड बोकेकै आधारमा राज्यविद्रोहको मुद्दा लगाएको छ । हाम्रा कार्यकर्तामाथि लगाएको कुनै पनि अभियोगमा ढुंगा हानेको वा दंगाफसाद गरेको भन्न सकेको छैन । पर्चा फेला पर्‍यो, नारा लगायो वा प्लेकार्ड बोक्यो भन्ने आधारमा मात्र जन्मकैदको मुद्दा लगाउन मिल्छ ? निर्दोषमाथि मुद्दा लगाउन सक्ने राज्यले त्यस्ता मुद्दा फिर्ता गर्न सक्ने कानुन पनि बनाउनुपर्‍यो नि । तर, त्यस्तो कानुनको दुरुपयोग नहोस् भन्नेमा चाहिँ विचार गर्नुपर्छ । त्यो अध्यादेश ल्याउनेबित्तिकै अरू अपराधी पनि एकै पटक छुटिहाल्ने होइनन् ।

अध्यादेशलाई गरेको समर्थन र तपाईंका पछिल्ला राजनीतिक भेटघाटले सरकारमा जान चाहेको जस्तो देखिन्छ । सरकारमा सहभागी हुने हो ?
कुनै पनि पार्टीको स्पष्ट बहुमत छैन । त्यही भएर उहाँहरू (कांग्रेस र माओवादीका नेताहरू) ले समर्थन गर्न र सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । ‘सकारात्मक छौं’ भनेका छौं । हाम्रा मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता आएमा सहभागी हुन्छौं ।

सरकारमा सहभागी हुन कस्ता मुद्दाको सम्बोधन खोज्नुभएको हो ?
किसान आन्दोलनमा उठेका माग–मुद्दा सम्बोधन हुनुपर्‍यो । नागरिकता विधेयक ल्याउने ठोस प्रतिबद्धता गर्नुपर्‍यो । हामीले जनतासँग शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने वाचा गरेका छौं, त्यसका लागि उपयुक्त वातावरण बनाइदिनुपर्‍यो । किसानको बिजुली यथासम्भव निःशुल्क गरिनुपर्‍यो । समयमै सुलभ दरमा मल पाउनुपर्‍यो । किसान कार्डको व्यवस्था हुनुपर्‍यो । बालीनालीमा क्षतिपूर्ति पाउनुपर्‍यो । स्वतः बाली बिमाको व्यवस्था हुनुपर्‍यो । बालीको समर्थन मूल्य तोकिनुपर्‍यो ।

यसको अर्थ नयाँ सरकारमा कृषि मन्त्रालय नै दाबी गर्नुभएको हो ?
अरूलाई ज्ञापनपत्र दिएर माग गर्नुभन्दा आफैं सरकारमा गएर कार्यान्वयनको नेतृत्व गर्नु उपयुक्त होइन र ?

मधेस प्रदेश सरकारको नेतृत्व दाबी गर्नुभएको हो ?
मधेस प्रदेशमा हामीसँग निर्णायक संख्या छ । हामीले नेतृत्व दाबी गरेका छौं । अरूलाई पटक–पटक अवसर मिलिसकेको छ । जनमत पार्टीलाई एक पटक अवसर दिएर, उसले कस्तो काम गर्छ भन्ने हेर्नु भनेका छौं ।

अब संविधानबारे कुरा गरौं । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई यो संविधानका मुख्य आधारस्तम्भ भनिन्छ । यसप्रति तपाईंको दृष्टिकोण के छ ?
हामीले संविधानका आधारभूत कुरालाई स्वीकार गरेका छौं ।

धर्मनिरपेक्षता मान्नुहुन्छ ?
संविधानको व्यवस्था हो । त्यसैले मान्नुपर्छ ।

संविधानको व्यवस्था भएका कारणले मात्रै कि धर्मनिरपेक्षतामा तपाईंहरूको विश्वास भएकाले ?
जनताले जे भन्छन्, त्यो हुन्छ । हामी जनताको आदेशअनुसार चल्छौं ।

संघीयता ?
एकदम मान्छौं । रक्षा गर्छौं । पैरवी गर्छौं ।

गणतन्त्र ?
गणतन्त्रको पनि प्रतिरक्षा गर्न हामी तयार छौं ।

समानुपातिक समावेशिता ?
विकृत स्वरूपमा अभ्यास भएको छ । त्यसैले ‘रिजर्भेसन’ छ तर यो अवधारणाको समर्थन गर्छौं ।

समानुपातिक समावेशिताको कुन विषयमा तपाईंहरूको रिजर्भेसन हो ?
संविधानले ६ वटा क्लस्टर छुट्याएको छ, त्यो नै वास्तवमा ‘अर्बाइटरी’ छ । त्यो न पहिचानको आधारमा छ न वर्गीय आधारमा । त्यसले विकृति निम्त्याएको देखिन्छ । एउटा उदाहरण हेरौं– अहिलेको चुनावले प्रतिनिधिसभामा खसआर्यको सहभागिता किन यति धेरै दियो ? खसआर्यको ‘ओभर रिप्रिजेन्टेसन’ हुनेबित्तिकै त्यो जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व भयो त ? व्यवस्थापिकामै त्यसको उल्लंघन भइसक्यो ।

तपाईंले धर्मनिरपेक्षताबारे स्पष्ट जवाफ दिनुभएन नि ?
जनताको के माग हुन्छ, जनताले के चाहन्छन् भन्ने हेर्नुपर्छ ।

त्यसको अर्थ अब यो विषयलाई फेरि जनताबाट परीक्षण गर्ने ?
हाम्रो पार्टीको नाम नै जनमत हो । जनताको मतबाट चल्ने भएकाले त्यसमा ठूलो विवादको आवश्यकता छैन । जनताले जे आदेश दिन्छन्, त्यहीअनुसार अगाडि जाने हो ।

केही व्यक्तिगत प्रश्न– तपाईंको घाँटीमा पछिल्लो समय नयाँ माला देखिन थालेको छ, यो के हो ?
(लामो हाँसो...) ओशो संन्यास लिएको हुनाले त्यही माला लगाउने गरेको छु ।

तपाईंको 'हेयर स्टाइल' अन्य नेताको भन्दा फरक छ । तपाईंको व्यक्तिगत सोख मात्रै हो ?
(लामो हाँसो...) यो विद्रोहको संकेत हो । म ‘एनोदर ब्रिक इन द वाल’ होइन, ‘कन्फर्मिस्ट’ होइन । समाजले जे–जे नियम बनाइदिन्छ, त्यहीअनुसार चल्ने मानिस म होइन भनेको हुँ ।

तपाईंको घाँटीमा प्रायः रातो गलबन्दी देखिन्छ, त्यो के हो ?
बलिदानी र क्रान्तिको प्रतीक हो । यो देश बनाउन धेरैको रगत बगेको छ । अहिले त्यो जिम्मेवारी मैले बोकेको छु ।

ओशोको माला र तपाईंले व्याख्या गर्नुभएअनुसारको हेयरस्टाइलको सम्बन्ध त बुझ्न सकिन्छ तर त्यो माला र रातो गलबन्दी एउटै घाँटीमा कसरी मिलेर बस्न सक्छन् ?
मिल्छन् । मैले कहिल्यै पनि हिंसाको राजनीति गरिनँ तर कतिले के भन्छन् भने– ‘अब आध्यात्मिक भएपछि त हिंसा गर्दैनौ होला नि ?’ आध्यात्मिक हुँदैमा हिंसा नहुने भन्ने पनि नहुँदो रहेछ । कृष्ण भगवान् त अध्यात्मको श्रेष्ठ भक्त हुन्, तैपनि महाभारतको युद्ध लडेकै हो । त्यसैले आध्यात्मिक हुनेबित्तिकै हिंसा हुँदैन भन्न मिल्दैन । त्यो अलग–अलग छनोटको कुरा हो ।

Page 6
सम्पादकीय

कारागारका बालबालिकाको आधारभूत अधिकार सुनिश्चित गर

आमासँगै कारागारभित्र रहेका ससाना बालबालिकाले न्यूनतम सुविधा र हेरचाह पाइरहेका छैनन् । कैदीहरूसँगै उनीहरूको दैनिकी बित्ने गरेको छ । कारागारभित्र पोसिलो खानेकुराका साथै पढ्ने, खेल्ने वातावरण पनि तिनले पाएका छैनन् । कारागार व्यवस्थापनमा सरकारी तवरबाट भइरहेको बेवास्ताका कारण ती बालबालिका आमासँगै ‘कैदी’ हुनुपरिरहेको छ । गर्दै नगरेको गल्तीको सजाय पाइरहनुपरेको छ । यस्तो वास्तविकता बदल्न सरकारले ध्यान दिनुपर्छ ।
कारागार ऐन–२०१९ ले आमाले कतै केही उपाय नलागेमा आफूसँगै छोराछोरी राख्न पाउने अधिकार दिएको छ । यसैमा टेकेर आमाहरूले कारागारमा छोराछोरी हुर्काइरहेका छन् । ऐनले ६ दशकअघि नै ससाना बालबालिकाको हेरचाहमा आमाको भूमिकालाई बुझेर आफैंसँगै कारागारमा राख्न त दियो, तर यतिका वर्षसम्म पनि सरकारले सो अधिकारको पूर्ण पालनाका लागि कारागारभित्र–बाहिर केकस्तो पूर्वाधार चाहिन्छ भन्नेमा चासो दिएको छैन । कुनै पनि कारागारमा छोराछोरीसहितका आमा बस्ने अलग्गै स्थान छैन । बालबालिका अरू कैदीसँगै असहज र असामान्य वातावरणमा हुर्किरहेका छन् । शौचालय, शयनकक्ष, खानपिन सँगै हुन्छ । यस्तो परिस्थितिमाझ छोराछोरी हुर्काउनुपर्दा दोहोरो सजाय पाइरहेको महसुस आमाहरूलाई हुने गर्छ ।
अर्को, बालबालिकाको भविष्यमै यसले असर पारिरहेको छ । कैदीहरूसँगै कारागारको अग्लो पर्खालमा हुर्कंदा तिनको बानीब्यहोरा, आचरण र मनोविज्ञानमा प्रतिकूल असर पर्छ, जसका कारण कारागारबाट निस्किसकेपछि पनि तिनलाई समाजमा पुनःस्थापना गर्न मुस्किल भइरहेको छ । देशैभरिका कारागारमा सरकार र कारागार प्रशासनको कमजोरीको सजाय भोगिरहेका बालबालिकाको संख्या निकै छ, तिनको संरक्षणका लागि सरकारले पूर्वाधार विकासका कामहरू गर्नु आवश्यक छ ।
बाल अधिकार र मानव अधिकार हनन हुन नदिन कसुर सजाय पाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई अन्तर्राष्ट्रिय–राष्ट्रिय कानुनमा सुधारगृहमा राख्नैपर्ने प्रावधान छ । सोही अनुरूप नेपालमा पनि सरकारले नै यस्ता गृहहरूको व्यवस्थापन गरिरहेको छ । तिनको सुविधाको पक्षमा प्रश्न उठे पनि कमसेकम कानुनले नै यसको आवश्यकता महसुस गरेको छ, तर कसुर सजाय नपाएका र आमासँगै जेलमा हुर्किरहेका बालबालिकाको हकमा भने यस्तै विकास केन्द्रको परिकल्पना कानुनी रूपमा गरिएको छैन । फलतः यस्ता बालबालिकाको सुविधा धेरै हदसम्म कारागार प्रशासनको स्वविवेकमा निर्भर छ । बालबालिकाको सुविधाका लागि काम गर्नैपर्ने कुनै कानुनी बाध्यता छैन, न त सरकारले नै नियमित रूपमा यस्ता बालबालिकाका लागि आवश्यक बजेटको विनियोजन नै गरेको छ ।
आमासँगै कारागारमा हुर्किरहेका बालबालिकाका लागि कारागार प्रशासनले रासन र भत्ता थोरै थपिदिने गरेको छ । सुत्केरी अवस्थामा रहेका आमाहरूको हालत झनै नाजुक छ । शिशु र आमा दुवैले पौष्टिक खानेकुरा र स्याहार पाउँदैनन् । कतिपय कारागार प्रशासनहरूले गैरसरकारी संस्थासँग समन्वय गरेर सहयोग जुटाउने गरेको देखिन्छ । तर, यो न पर्याप्त छ न भरपर्दो नै । सरकारले नै कारागारभित्रका बालबालिकाका लागि छुट्टै खाने, बस्ने, पढ्ने वातावरण मिलाइदिनुपर्छ । सुत्केरी अवस्थामा रहेकाहरूको उचित ख्याल गर्नुपर्छ । रासन र भत्ता थपिदिएर मात्र राज्यको दायित्व पूरा हुन्न । कारागारभित्र बालबालिकाको आधारभूत आवश्यकतालाई पूरा गर्न नियमित बजेट व्यवस्थादेखि बालविकास केन्द्र वा तिनलाई खाने, बस्ने, पढ्ने र खेलकुद सुविधाकेन्द्रित पूर्वाधार निर्माणसम्ममा सरकारले यथोचित प्रबन्ध मिलाउनुपर्छर् ।
पछिल्ला दशकमा बालबालिका र मानव अधिकारका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा निकै महत्त्वपूर्ण सुधार भएका छन्, जसमध्ये आमासँगै कारागारमा थुनिएका छोराछोरीको आवश्यकताको पहिचान र तिनको सुविधा पनि एक हो । यसको सुनिश्चित गर्ने विभिन्न महासन्धिमा नेपालले पक्षराष्ट्रका रूपमा हस्ताक्षर गरेको छ । पौष्टिक आहार, शिक्षा, स्वास्थ्य लगायत बालबालिकाको सर्वांगीण विकासका लागि कारागारलाई चाहिने पूर्वाधार बनाउने र सुविधाका लागि आवश्यक नियमित बजेट छुट्याउने प्रतिबद्धता गरेको छ । तर, सो अनुरूप काम भएको छैन । यस्ता सबै प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा आफू बालबालिका तथा मानव अधिकारको हिमायती भएको देखाउनका लागि मात्र गरेकोजस्तो देखिन्छ ।
अतः बाल अधिकार र मानव अधिकार रक्षाका लागि सरकारले कारागारभित्र आमासँगै थुनिएका बालबालिकाको सुविधाका लागि आवश्यक व्यवस्थाहरू मिलाउन जरुरी छ । त्यसका लागि यस्ता बालबालिकालाई मातृवात्सल्यबाट टाढा नपुर्‍याई कारागार–वातावरणको उकुसमुकुसबाट कसरी बाहिर निकाल्न सकिन्छ र उनीहरूको सहज हुर्काइ सुनिश्चित हुन्छ, यसबारे सरकारले उचित गृहकार्य गर्नैपर्छ । बालबालिकाको भविष्यलाई पनि आमासँगै कारागारमा कैद गर्नु हुन्न ।

दृष्टिकोण

संसदीय नेतृत्वमा गगनको सकस

निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ?
- कृष्ण खनाल

नेपाली कांग्रेसको गत महाधिवेशनमा सर्वाधिक मत पाएर महामन्त्रीमा विजयी भएका गगन थापा के त्यसै गरी संसदीय दलको नेतृत्वमा पुग्न सक्लान् ? यो कति सम्भव छ ? धेरैका मनमा यो प्रश्न खेलिरहेको हुनुपर्छ । निश्चय पनि महामन्त्रीभन्दा यो प्रतिस्पर्धा बढी पेचिलो छ । यो नेतृत्वमा पुग्नु भनेको प्रधानमन्त्री बन्ने ढोका खुल्नु पनि हो । संसद्मा अहिले कांग्रेस सबैभन्दा ठूलो दल भएकाले त्यो सम्भावना पनि उत्तिकै छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्, कांग्रेसको विधान अनुसार यिनै सांसदहरूले कांग्रेस संसदीय दलको नेता चुन्छन् । चुनिनका लागि पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ, अर्थात् कम्तीमा ४५ जना सांसदको समर्थन चाहिन्छ । कांग्रेसमा देउवा पक्ष र देउवाइतर भनेर अहिले जुन समीकरण छ, त्यसलाई मात्र आधार मान्ने हो भने त चुनाव नै गर्नु पर्दैन, परिणाममा शेरबहादुर देउवाकै निरन्तरता निश्चित छ । गगनलाई ४० प्रतिशत पुर्‍याउन पनि हम्मे पर्छ ।
पार्टी नेतृत्वको चुनाव भनेको केवल पक्ष–विपक्षमा संख्याको जोडघटाउजस्तो अंकगणितीय खेल र बहुमतको प्राविधिकतामा मात्र सीमित होइन । धेरै कुरा यसमा जोडिन्छन् । गुटगत समर्थन र विरोधभन्दा प्रतिस्पर्धामा उत्रिएका व्यक्तिको दृष्टिकोण, क्षमता र चरित्र निर्णायक हुन्छन् । पार्टीमा यथास्थितिको निरन्तरता वा परिवर्तनको बाटो निर्धारण गर्ने अवसर पनि हो यो । नयाँ नेतृत्वले पार्टीमा जीवन र गति दिन्छ, मतदाता र समर्थकमा उत्साह भर्छ । योग्य र सबल नेतृत्व पाउन सके छिमेकी र शक्तिराष्ट्रहरूको चलखेललाई पनि न्यूनीकरण गर्न सकिन्छ । कांग्रेस लगायत नेपालका राजनीतिक दलका नेतृत्व चयनमा यिनको कति भूमिका होला, प्रश्न गर्न सकिएला, तर स्वस्थ पार्टी प्रणालीको विकासका लागि यी अनिवार्य तत्त्व हुन् । अहिले समयको जुन मोडमा कांग्रेस संसदीय दलको नेतृत्व चयन हुँदै छ, त्यसमा पार्टी मात्र होइन, आउने पाँच वर्ष सरकार, संसद् र मुलुककै भविष्य गम्भीर रूपमा जोडिएको छ । त्यसैले पनि कांग्रेसको संसदीय नेतृत्वप्रति मुलुकको ध्यान केन्द्रित भएको हो । एमाले र माओवादीमा अहिले नेतृत्व परिवर्तनको अपेक्षा गर्न पनि सकिन्न, ओली र प्रचण्डको अनुमोदनबाहेक ।
कांग्रेसका सांसदहरूले स्वतन्त्र भएर गुणदोषको मूल्याङ्कनसहित विवेक प्रयोग गर्ने हो भने परिणाम उल्टिनुपर्ने हो र गगन विजयी हुनेमा शंका गर्नुपर्ने थिएन । देउवालाई फेरि पनि नेता चुन्न चित्तबुझ्ने कारण के छ र ? पटकपटक अवसर पाउँदा पनि उनको सफलताको कथा भाग्यवादबाट माथि उठ्न सकेको छैन । पहिलो पटक २०५१ सालमा संसदीय दलको नेता चुनिँदादेखि नै उनी भाग्यमानी बन्दै आएका छन् । उनलाई कृष्णप्रसाद भट्टराईको शुभेच्छा त छँदै थियो, गिरिजाप्रसाद कोइरालाले पनि आपत्ति गरेनन्, उनी निर्विरोध चुनिए । सम्भावित प्रतिस्पर्धीहरूमध्ये रामचन्द्र पौडेल सभामुख पाइने भो भनेर रमाए, शैलजा आचार्य पनि गिरिजाको प्राथमिकतामा परिनन् । संसदीय दलको नेता चुनिएको दस महिना नबित्दै देउवाले मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई अविश्वासको प्रस्तावबाट विस्थापित गर्दै कांग्रेस–राप्रपा–नेसपा गठबन्धनमा प्रधानमन्त्री बन्ने अवसर पाए । त्यतिखेर उनी नयाँ पुस्ताका युवा प्रधानमन्त्री भएकामा सबै खुसी पनि थिए । प्रधानमन्त्री भएपछि सत्ताको आडमा पार्टीभित्र उनको गुट पनि बन्दै गयो ।
प्रधानमन्त्री हुँदा देउवाको भाग्यवादको जरा अरू बढ्नुबाहेक मुलुक, लोकतन्त्र र नेपाली कांग्रेसले उल्लेख्य केही पाएनन् । बरु लोकतन्त्रप्रति निष्ठावान् नागरिकले शिर निहुर्‍याउनुपर्ने हुन थाल्यो । ससद्मा बदनामित पजेरो संस्कृति र निर्वाचन क्षेत्र विकासका नाउँमा सांसदको खल्ती भर्ने गलत प्रथा र जम्बो मन्त्रिमण्डलको परम्परा उनैले भित्र्याए । दोस्रो पटक प्रधानमन्त्री हुँदा संवैधानिक प्रणालीलाई नै दरबारमा बुझाए, आफैंले प्रस्ताव गरेको प्रतिनिधिसभाको चुनाव नै गर्न सकेनन् । उल्टै राजा ज्ञानेन्द्रले समेत नालायक भनेर बरखास्त गरे । तेस्रो पटक उनै राजा ज्ञानेन्द्रले निगाहपूर्वक फेरि प्रधानमन्त्रीको कुर्सीमा बसाले, देउवाले ‘गोरखाली राजाबाट न्याय
पाएँ’ भन्दै जयजयकार गरे । तर १० महिनामै फेरि बरखास्तगीमा परे । उनको चौथो कार्यकालमा कांग्रेसले संसदीय चुनावमा सर्मनाक हार बेहोर्नुपर्‍यो, तर नेतृत्वमा रहिरहे । भाग्यवादी राजनीतिका पात्र देउवा कम्युनिस्ट सत्ता विग्रहका कारण पाँचौं पटक प्रधानमन्त्री हुन पुगे । तर उनको यो कार्यकाल उनका पूर्ववर्ती ओलीको भन्दा कुनै किसिमबाट पनि राम्रो मान्न सकिने ठाउँ छैन । कम्युनिस्ट विभाजनको यत्रो ठूलो राजनीतिक अवसरमा पनि चुनावमा कांग्रेसले अपेक्षित मत नपाउनु उनकै अयोग्यता र अक्षमता हो ।
अहिले कांग्रेस संसद्मा सबैभन्दा ठूलो पार्टी भएको छ, गत चुनावका तुलनामा यो उपलब्धि भन्न सकिएला । तर यसको अन्तर्यमा पसेर विवेचना गर्ने हो भने देउवाको सफलता भनेर भजन गाउनुपर्ने ठाउँ छैन । गठबन्धनका कारण प्रत्यक्षतर्फ कांग्रेसले तुलनात्मक लाभ पाएको छ, सिट पनि बढेको छ । तर समानुपातिकतर्फ पहिलेभन्दा ८ सिट कम पाएको तथ्य पनि छ । पहिलेभन्दा चार लाख अन्ठाउन्न हजार लोकप्रिय मत नै घट्यो, जबकि यो चुनावमा पहिलेभन्दा दस लाख मत बढी खसेको छ । पार्टीको जनाधार जान्ने मुख्य सूत्र चुनावमा उसले प्राप्त गर्ने लोकप्रिय मत हो, जस्तो नदीमा पानीको बहाव कम भयो भने विद्युत् उत्पादन घट्छ । यो प्रकृति र विज्ञान दुवैले पुष्टि गर्ने सूत्र हो । लोकप्रिय मतमा स्खलन भनेको अर्को चुनावसम्म पार्टीको काम र छविमा सुधार नहुने हो भने, हार निश्चितजस्तै हो । कसले सुधार्छ त कांग्रेसको छवि ? कसले आशा जगाउन सक्छ सरकारको काम र जनमुखी परिणाम दिन ?
नेपालकै इतिहासमा ठूलो क्रान्तिकारी परिवर्तनको पारिवारिक विरासत बोकेका पनि छन् कांग्रेस सांसद्मा — शशांक कोइराला र प्रकाशमान सिंह । शशांक बीपी कोइरालाका पुत्र हुन् भने प्रकाशमान गणेशमान सिंहका । दुवै पार्टीभित्रको लोकप्रिय मतबाट महामन्त्री र उपसभापतिमा निर्वाचित पनि भएका थिए । चुनाव अभियानका बेला र चुनावपछि पनि उनीहरूले समेत प्रधानमन्त्री बन्ने निरीह धोको व्यक्त गरे । तर देउवाकै निगाह एवं मेजमानीमा रमाउनु र आश्रय लिनुबाहेक उनीहरूको राजनीतिक व्यक्तित्व नै बन्न सकेन । राजनीतिक सोच र दृष्टि भनेको आमाले काखमा राखेर शिशुलाई दूध पिलाएजस्तो होइनÙ त्यो ऐनमौकामा व्यक्तिको आँट, काम र गतिमा पनि जनताले पत्याउने गरी देखिनुपर्छ । अहिले कांग्रेस सांसदमध्ये केही युवा देखिएका छन्— गगन, विश्वप्रकाश, प्रदीप पौडेल जसमाथि भावी नेतृत्वको आशा र भरोसा गर्ने ठाउँ देखिएको छ । अरू पनि नयाँ अनुहार र युवा छन् जसले आफूलाई निरन्तरको परीक्षाबाट आशालाग्दो नेतृत्वमा प्रक्षेप गर्न सक्छन् । तर यस पटक कांग्रेसका शुभेच्छुक, समर्थकको लोकप्रिय मतमा गगन नै देउवाको विकल्पमा अग्रपंक्तिमा छन् ।
जहाँसम्म गगनको सम्भावनाको कुरा छ, उनलाई पनि संसदीय दलको नेतृत्वमा चुनिन त्यति सहज भने छैन । आदर्श र सिद्धान्तका कुरा आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्, तर नेपालको राजनीतिको धरातल यति धमिलो र प्रदूषित छ कि स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि साँघुरो छÙ छैन भने पनि हुन्छ । त्यसमाथि छिमेकीको गिद्धेदृष्टि छ । यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र उसको चरम कट्टरपन्थी हिन्दु युवा दस्ता, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) उम्मेरवार बनाउनेमा अर्थात् कसलाई टिकट दिनुपर्छ, कसलाई दिनु हुँदैन भन्नेसम्ममा लागे भन्ने सुनिएको छ । छिमेकी मात्र होइन, शक्तिराष्ट्र र अन्तर्राष्ट्रिय समुदायको पनि नेपालको राजनीतिमा के भइरहेछ, यो कता जाँदै छ भनेर चासो हुन्छ । उनीहरूले आफ्नो राष्ट्रिय हित र प्राथमिकतालाई सुरक्षित गर्न चाहन्छन् । राजनीतिमा यो स्वाभाविक कुरा हो । त्यसलाई ठीक ठाउँ र सन्तुलनमा राख्ने, त्यसको अवाञ्छित प्रभावबाट जोगिने र जोगाउने काम नेतृत्वको हो । अघिल्लो संसदीय कालमा नेपालको परराष्ट्र सम्बन्ध, खास गरी छिमेकी भारत र चीनसित अत्यन्तै असन्तुलित र असंयमितसमेत रह्यो । त्यसको प्रभावबाट नेपाल अहिले पनि मुक्त छैन ।
यतिखेर कांग्रेसमा बीपी कोइरालाजत्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै नीतिमा जोखिम बोक्न तयार तर सबल र सक्षम नेतृत्वको खाँचो छ । गगनमा मैले त्यो सम्भावनाको ठाउँ देखेको छु । जुन किसिमबाट उनी पार्टीमा, संसद्मा, सरकारमा र सार्वजनिक प्रस्तुतिमा देखिन्छन्, तिनमा त्यो प्रतिभा र क्षमता देख्न सकिन्छ । गगनप्रति मेरो कुनै व्यक्तिगत अनुराग भएर मैले यो भनेको पनि होइन । पुरानो चिनजान र सम्पर्कको कुरा गर्ने हो भने, देउवा र रामचन्द्र पौडेलजति कांग्रेस नेतामध्ये अरू कसैसँग छैन होला । निजी लाभ त मैले देउवासँगै जति पनि पाउँथें होला । त्यसमाथि म एक दशकभन्दा लामो समयदेखि कुनै पनि राजनीतिक दल र नेतासँग राजनीतिक सम्पर्कमा छैन, विरलै जाने एकाध सार्वजनिक कार्यक्रममा हुने देखादेखबाहेक ।
संसदीय दलको नेतृत्वमा गगनले गर्नुपर्ने पार्टी सभापति एवं बहालवाला प्रधानमन्त्रीसमेत रहेका देउवाको प्रत्यक्ष सामना त देखिने कुरा हो । तर देखिने र नदेखिने गरी उनले आफ्नै खेमा र समवर्तीहरूसँग सामना गर्नुपर्ने चुनौती र सकस पनि उत्तिकै छन् । देउवाविरुद्ध जति छन्, ती सबै मत आफ्नो पक्षमा पार्न उनले निकै ठूलो कसरत गर्नुपर्नेछ । त्यसैले कांग्रेसमा नेतृत्वको यो प्रतिस्पर्धा बहुकोणीय प्रकृतिको हुनेछ । संक्षेपमा भन्नुपर्दा, उनका कारण देउवालाई सत्ताबाट हट्नुपर्ला भन्ने पीडा छ, कोइरालाहरूलाई पारिवारिक विरासत गुम्ने भय छ, उनका समकालीनहरूलाई कनिष्ठले उछिन्ने भयो भन्ने चिन्ता छ । कांग्रेसमा मात्र होइन, यसको प्रभाव आफूमाथि पनि पर्ला भन्ने अरू दलका नेताहरूलाई पनि पिरलो छ । कांग्रेसमा अहिले यो खेल गगनविरुद्ध भित्रभित्रै भुसको आगोजस्तै फैलाउने प्रयत्न भैरहेको आभास पाइन्छ ।
यो स्वाभाविक हो, सनातनी पार्टीमा नयाँ नेतृत्व उदयको सम्भावना देखिएका बेला । देउवाले चुनाव जिते पनि उनी अस्ताउन लागेका घाम हुन् र यो उनको अन्तिम प्रयास हो, ज्योतिषीको भविष्यवाणी पनि अन्तिम नै होला । आशाको पालो बाँधेर बसेकालाई उनी अब चुनौती होइनन् । तर गगन नेतृत्वमा आए भने उनले अर्को दस वर्ष पार्टी हाँक्ने सम्भावना रहन्छ । उनी युवा मात्र छैनन्, उत्साही र ऊर्जाशील पनि छन् । खुला राजनीतिमा प्रभावशाली औजार मानिने लोकप्रियता पनि आर्जन गरेका छन् । उनकै शुभेच्छुकमा पनि उनी आएपछि आफूले मौकै नपाइने हो कि भन्ने चिन्ताको मनोविज्ञान बुझ्न कठिन हुँदैन । त्यसैले गगनविरुद्ध अहिले भित्री टिप्पणी सुनिन्छ— उनले दस भोट पनि ल्याउँदैनन्, देउवा अरू बलियो हुन्छन् । उनी विभिन्न तहका पार्टी कार्यकर्ताको पहुँचमै छैनन्, फोन नै उठाउँदैनन् । उनी पार्टीको कार्यक्रममा भन्दा गैरसरकारी संस्थाले पाँचतारे होटलमा आयोजना गर्ने कार्यक्रममा बढी पुग्छन् । उनी क्षेत्री गठबन्धनमा लागेका छन् । समानुपातिकतर्फ पार्टीको भोट घट्नुमा महामन्त्रीको हैसियतले के उनी जिम्मेवार छैनन् ?
देउवाको टक्कर शेखरले मात्रै दिन सक्छन् भन्ने एउटा विकृत मत निर्माण गर्ने प्रयत्न भइरहेको देखिन्छ । म भन्दिनँ, गगनविरुद्ध सुनिने गुनासाहरू सत्य छैनन्, गलत छन् । त्यसमाथि पार्टीबाहिरको व्यक्तिले कसैलाई क्लिन चिट दिने वा आरोप लगाउने होइन, सापेक्षिक अभिमतसम्म राख्ने हो । गगनका हजार कमजोरी होलान्, तर कांग्रेसमा देउवालाई टक्कर दिने उनको हैसियतको अर्को नेतृत्व कोही देखिएको छैन । बाटामा मुर्दा कुर्नेको ताँती भने ठूलै होला । नेतृत्वमा चुनिए गगनले केकति गर्न सक्छन्, त्यो परीक्षामै छ, तर देउवाको निरन्तरतामा राजनीति अरू खराब हुने निःसन्देह निश्चित नै छ । उदाउँदो नेतृत्वमा शंकाको घेरा बढाएर विद्यमान गलत नेतृत्वको निरन्तरता पुष्टि हुन सक्तैन । अहिले कांग्रेस संसदीय दलमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनु आवश्यक छ । राम्रो त, देउवाले स्वैच्छिक विश्राम लिएर बरु आफ्नै पक्षबाट आफूले चाहेको अर्को कुनै सांसदलाई संसदीय दलको नेतृत्वका लागि उम्मेदवार बनाए पनि हुने हो । त्यो अन्यथा पनि मानिँदैन । पार्टी राजनीतिमा यस्तो प्रचलन पनि छ । निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । के देउवाबाट त्यो अपेक्षा गर्न सकिन्छ ? २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ?

सम्पादकलाई चिठी

शेरबहादुरजी, शिक्षामा हेलचेक्य्राइँ किन ?


१.     २०४६ सालयता तपाईं पाँच–पाँच पटक प्रधानमन्त्री बन्नुभयो र अझै प्रधानमन्त्री बन्ने दौडधुपमा हुनुहुन्छ । तर यही तीन दशकयता नेपालको शिक्षा कामै नलाग्ने गरी धराशायी भएको छ । चाहे तपाईं सार्वजनिक शिक्षाको कुरा गर्नुहोस् या निजी शिक्षाको ।
२.     तपाईंकै परिवारका सदस्य नेपालका अति धनाढ्य पढ्ने निजी शिक्षासँग सम्बन्धित संस्थामा मरिमेटेर लागेको देखिएकै छ तर सर्वसाधारणले पढ्ने सार्वजनिक शिक्षामा किन जोड दिइएन ?
३.     तपाईंकै एकाघरका सदस्यले भर्खरै सम्पन्न चुनावताका डडेलधुरामा तपाईंको पक्षमा वकालत गर्दै सर्वसाधारण जनताका लागि खाडीमा निःशुल्क पठाइदिने भनी दिएको भाषणले नेपालको सार्वजनिक शिक्षा अझ ओझेलमा पारेको कुरा तपाईंलाई हेक्का छ कि छैन ?
४.     त्यस्तै अर्का पूर्वप्रधानमन्त्रीले रौतहटमा दिएको भाषण पनि हुबहु उस्तै छ । अझ अर्का पूर्वप्रधानमन्त्रीले त पीएचडीको धज्जी नै उडाएका छन् । यसबाट नेपालका सरकारप्रमुखहरू शिक्षामा प्राथमिकता दिँदैनन् भन्ने प्रस्ट हुन्छ कि हुन्न ?
५.     जहिले पनि अरू दलसँग मिलेर सरकार बनाउने अनि शिक्षालाई अर्कै पार्टीको पोल्टामा हालिदिने र सरकारप्रमुखका नाताले त्यसतर्फ के भैरहेछ भन्ने सूचनासमेत नराख्नु तपाईंको व्यक्तिगत र सरकारप्रमुखका नाताले ठूलो कमजोरी हो भन्ने कुरा स्विकार्न सक्नुहुन्छ ? सक्नुहुन्न भने तपाईंबाट शिक्षामा आशा गर्ने ठाउँ देखिन्न ।
६.     पटकपटक तपाईंकै पार्टीको शिक्षामन्त्री पनि नबनेका होइनन्, तर हातलागी शून्य । २०७५ सालमा तपाईंकै पार्टीबाट शिक्षामन्त्री हुनेले त शिक्षा ऐन २०२८ को नवौं संशोधनमार्फत स्थायी शिक्षक सम्बन्धी व्यवस्थामा परिवर्तन गरी पश्चगामी बुँदा लागू गर्नाले नेपालको सार्वजनिक शिक्षालाई ५० वर्षपछाडि धकेल्ने काम भएको कुरा तपाईंलाई थाहा छ कि छैन ?
७.     विद्यालय शिक्षाको हालत कस्तो छ भन्ने थाहा पाउन शिक्षा मन्त्रालयले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको विद्यार्थी मूल्यांकनको राष्ट्रिय परीक्षण मात्रै हेरे पुग्छ । २१औं शताब्दीमा हाम्रो शिक्षाको हालत यस्तै रहिरहे हाम्रा शिक्षाका उत्पादन केही वर्षपछि खाडीमै पनि अयोग्य हुनेछन् ।
८.     उच्च शिक्षाको हालत त विद्यालय शिक्षाभन्दा पनि गएगुज्रेको छ । कतिपय विश्वविद्यालयमा अहिले पनि उपकुलपति पद खाली भएको महिनौं भैसक्यो, कतिपय विश्वविद्यालयमा १८ महिनादेखि कुनै पनि संकायमा डिन नियुक्त भएका छैनन्, विश्वविद्यालय अनुदान आयोग नेतृत्वविहीन छ, देशको सबैभन्दा ठूलो विश्वविद्यालयमा विद्यार्थीले नतिजा कुर्न १८ महिना पर्खनुपर्ने भएको छ । खुला विश्वविद्यालयबाहेक यी सबै विश्वविद्यालयको कुलपति तपाईं स्वयम् हुनुहुन्छ भने दोष कसलाई दिनुहुन्छ ?
९.     राजनीतिक भागबन्डाको आधारमा विश्वविद्यालयको नेतृत्व चयन गर्ने, आफ्नो दलले भनेको भन्दा फरक निर्णय भए आफ्नै कार्यकर्ता उचालेर विश्वविद्यालयमा तालाबन्दी गर्ने, क्याम्पसप्रमुख, सहायक क्याम्पसप्रमुख, विभागीय प्रमुखदेखि कर्मचारी र शिक्षकसमेत भागबन्डामा नियुक्त गर्ने प्रथाले उच्च शिक्षा उँभो लाग्छ ? के शैक्षिक पदमा राजनीतिक भागबन्डा अपराध होइन ?
१०. अझै पनि यही चाला कायम राखिराख्ने हो भने कृपया नेपालका सबै शिक्षालय बन्द गरिदिनुहोस् र अन्तर्राष्ट्रिय बेइज्जतीबाट नेपाललाई जोगाउनुहोस् । हैन नेपालको विकास पनि अरू राष्ट्रको झैं शिक्षाबाट मात्रै सम्भव हुन्छ भन्ने कुरा ढिलै भए पनि बुझ्नुहुन्छ भने आउनुहोस् सँगै बसेर नयाँ नेपाल निर्माणका लागि नयाँ ढंगले शिक्षाको काम गरौं ।

– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

सम्पादकलाई चिठी

निगम सुध्रियोस्

नेपाल वायुसेवा निगम व्यवस्थापनले दुई जना एयर होस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका दुई जहाज उतै रोकिएको समाचार ज्यादै अनौठो लाग्यो । अचम्भित बनायो ।
नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबारदेखि थालेको हडतालले विमान परिचारिका र परिचारक अभाव भएकाले निगमले बुधबारयता दुई दिनमा सयौं यात्रुलाई समयमै गन्तव्यमा लैजान र ल्याउन नसकिरहेको र हडतालले निगमको दिल्ली उडानसमेत रोकिएको समाचार आएको छ । लामो समयदेखि नै अक्षम व्यवस्थापनका कारण दुर्नाम कमाइरहेको निगमले यस्तो आन्दोलनजस्ता तुलनात्मक रूपमा सामान्य समस्याका कारण सयौं यात्रु अलपत्र पर्ने, बिग्रिएको निगमको छवि अझ बिगार्ने र अन्तर्राष्ट्रियस्तरमा मुलुककै बदनाम गर्ने कुकृत्य हुँदासमेत नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय के हेरेर बसेको छ ? यो ज्यादै सोचनीय विषय भएकाले सामान्य रूपमा समाधान गर्न सकिने सवालका कारण गम्भीर समस्या र त्रुटि हुनु सामान्य कुरा होइन, निगमको गम्भीर लापरबाही हो । तसर्थ, सम्बन्धित आधिकारिक निकायबाट समयमै हस्तक्षेप गरी तत्काल वायुसेवालाई सुचारु गर्न र सम्बन्धित गैरजिम्मेवार पदाधिकारीहरूलाई हदैसम्म कारबाही गर्न ध्यान जाओस् ।

– प्रदीप सुवेदी, कलंकीस्थान, काठमाडौं

सम्पादकलाई चिठी

देउवावरिपरि राजनीति

शेरबहादुर देउवा पुनः विवादमा तानिएका छन् । पटकपटक सरकारप्रमुख भइसकेर पनि फेरि उनी प्रधानमन्त्री हुने दौडमा लागेका छन् । बलियो बहुमतका लागि नयाँ राजनीतिक दलहरूको विश्वास जुटाउन तिनका नेता–कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्न अध्यादेश ल्याए, जुन अनावश्यक छ । अहिलेसम्मको समीकरण हेर्दा सत्ता गठबन्धनले पुनः सरकार बनाउन त्यति मिहिनेत गर्नुपर्ने देखिँदैन । गठबन्धनका सांसदहरू र स्वतन्त्रबाट लडेका प्रभु शाह र अमरेशकुमार सिंहलाई विश्वासमा लिए सरकार गठन हुन्छ । सत्तामा जान लालायित जसपा समेट्न पनि सकिन्थ्यो । निर्वाचनको मुखैमा जसपा एमालेतिर लागेको झोंकमा देउवा नयाँ दलहरूतिर लागेको हुनुपर्छ । संघीयता खारेजी र राजतन्त्र पुनःस्थापनाको मुद्दा बोकेको राप्रपासँग सहकार्य गर्न देउवा अग्रसर छैनन् । त्यसै गरी पहिलो पटक संसद्मा आएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि देउवा सकारात्मक छैनन् । देउवा मात्र होइन सबै पुराना राजनीतिक दलहरू नै यो पार्टीप्रति विश्वस्त छैनन् । यद्यपि राप्रपा र रास्वपासम्म पुग्दै नपुगी देउवाले सजिलै बहुमत पुर्‍याउन सक्ने देखिन्छ । तर, असहज बाटो हिँड्न खोजिरहेका छन् । यसले राजनीतिक माहोल असहज बनाएको छ ।

– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

सम्पादकलाई चिठी

न्याय प्रणालीको सुधार

न्यायिक संहिताका सिमाना नाघेर चोलेन्द्रशमशेर जबराले मच्चाएको न्यायिक विचलनले विराम पाएको छ । तर यो विराम क्षणिक हुने हो कि स्थायी भन्ने आगामी प्रधानन्यायाधीशको इच्छाशक्तिमा टिकेको छ । अघिल्ला प्रधानन्यायाधीशहरूको बदनियतका कारण अदालत कुनै समय न्यायाधीशविहीन भएको थियो । त्यही रिक्ततामा राजनीतिक लेनदेनबाट अदालतमा खराब व्यक्तिहरूको प्रवेश भएकै हो । त्यसैले आज अदालतमाथि सबैतिरबाट औंला उठाउनुपर्ने परिस्थिति सृजना भयो । महाभियोग दर्ता टुंगोमा नपुगी जबराको कार्यकाल समाप्त भएको छ । आम नागरिकको खबरदारीले प्रधानन्यायाधीश अदालत प्रवेश गर्न पाएनन् । न्यायपालिका प्रमुख कार्यपालिकाको समेत प्रमुख बन्ने वातावरण राजनीतिक दलहरूले बनाएपछि नै न्याय प्रणाली संकटमा परेको थियो । अब राजनीतिक दलहरू सुध्रिनुको विकल्प छैन । अन्यथा आज जबरालाई खबरदारी गर्ने आम नागरिक भोलि राजनीतिक दलहरूका निर्णयविरुद्ध सडकमा उत्रने निश्चित छ । तसर्थ समय छँदै सुध्रिएको राम्रो ।

– रामकृष्ण बराल, जोरपाटी–५, काठमाडौं

Page 7
दृष्टिकोण

उत्थान र पतनको बाटामा माओवाद

समयसँगै अहिले प्रचण्डको आवाज बदलिएको छ । माओवादी सत्ताको खेलमा लिप्त भएको छ । उनका सहयोगीका रूपमा रहेका नेताहरू यौन अपराधमा मुछिएका छन् । राजनीति र चुनावका नाममा उठतीपुठती गर्नमा माओवादी कार्यकर्ताको संलग्नता बढ्दो छ ।
- किशोर नेपाल

संसारमा सर्वाधिक आधिकारिक मानिने सन्दर्भ–ग्रन्थ ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को पछिल्लो संस्करणमा माओवादी जनयुद्धका प्रमुख ‘सेनापति’ कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर मार्क्स, एंगेल्स, लेनिन, माओ त्सेतुङ, हो ची मिन्ह, स्टालिन, ट्रटस्की लगायतका दार्शनिक र क्रान्तिकारी व्यक्तित्वहरूको लहरमा सजाएर राखिएको छ । आदिम सामन्तवादको जालोमा जेलिएको नेपाली समाजलाई साम्यवादी समाजमा रूपान्तरित गर्ने साहसका साथ सशस्त्र अभियानमा लागेका प्रचण्डलाई भाषा–साहित्य र ज्ञान–विज्ञानका सम्पादकहरूले दिएको यो हैसियत वैचारिक, बौद्धिक र व्यावहारिक हिसाबले समेत चानचुने होइन । नेपाललाई सामन्तवादको चंगुलबाट मुक्त गर्ने जनयुद्धका नायकका रूपमा प्रचण्डको राजनीतिक आधिकारिकतालाई उनका मित्र र शत्रु कसैले चुनौती दिएका छैनन् । ब्रिटानिकाको नयाँ संस्करणमा प्रकाशित एक सय जना साम्यवादी नेताका तस्बिरबीच सजाइएको प्रचण्डको तस्बिर अहिलेको नेपालका लागि कति सान्दर्भिक होला अथवा नहोला, यो देशका चेतनशील राजनीतिक वर्ग र सामाजिक विज्ञानका अध्येताहरूले ठम्याउने कुरा हो । यो विवादको विषय पनि हुन सक्छ । तर, नेपाली समाजको चौतर्फी रूपान्तरणको लक्ष्य राखेर अदम्य साहसका साथ जनयुद्धको संयोजन गर्ने अभियन्ताका रूपमा प्रचण्डको योगदानको मूल्यांकन इतिहासले गर्नेछ ।
यो सत्य हो, जनयुद्ध सफल भएको झन्डै दुई दशकपछि प्रचण्डको तस्बिर पहेंलिन थालेको छ । तस्बिर खिच्ने र खिचेको नेगेटिभबाट तस्बिर बनाउने फोटोग्राफरले ‘फिक्स्चर’ राम्ररी पखालेन भने तस्बिर छोटो समयमै पहेंलिन थाल्छ । यद्यपि, अहिलेसम्म प्रचण्ड नेपालमा स्थापित संघीय गणतन्त्रका मेरुदण्डका रूपमै छन् । उनले संसदीय व्यवस्थामा एकाग्र भएर लागेका नेपालका ठूला–साना, कांग्रेस–एमाले सबै थरी राजनीतिक दललाई गणतन्त्रको मूल धारमा घसेटेर ल्याएकै हुन् । त्यसैले पनि परिवर्तनको एक मुख्य पात्रका रूपमा उनको भूमिका स्थापित भएको छ । व्यक्तिगत रूपमा यो नै प्रचण्डको नेतृत्वको उपलब्धि पनि हो । तर, यो उपलब्धि प्रचण्ड एक्लैको मात्रै नभएर सधैं निसासिएर बाँच्न बाध्य भएका नेपाली जनताको संघर्षको प्रतिफल हो ।
स्वदेशमा बसेर राजनीति गर्दा होस् अथवा निर्वासनमा बसेर राजनीतिको खेलमा होमिँदा, जीवनभरि कम्युनिस्टप्रति कटाक्षपूर्ण राजनीति गरेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई रहरले होइन, बाध्यताले शान्तिको बाटामा ल्याएका थिए । त्यसको विकल्प न तत्कालीन राजासँग थियो, न लोकतान्त्रिक शक्तिको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससँग । त्यति बेलाको राजनीतिक परिस्थितिको आकलन गर्ने जोसुकैलाई पनि यसको राम्रो ज्ञान हुनुपर्छ— नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना कुनै एक पार्टीको उपलब्धि थिएन । यो उपलब्धिको मुख्य कारक तत्त्व माओवादीको सशस्त्र संघर्ष थियो । देशमा रहेका कांग्रेस र एमाले लगायतका राजनीतिक शक्तिहरूको निरन्तर योगदानले जनताको आन्दोलनलाई बलियो बनाएको थियो ।
माओवादीका सर्वोच्च कमान्डरका हैसियतले शान्तिवार्तामा आएका प्रचण्ड राजनीतिक विचारधाराहरूबीच समन्वयको खोजीमा थिए । उनी बीपी कोइरालाले खिच्नुभएको नेपाली किसानको आधारभूत आवश्यकताको तस्बिरमा एक थान टेलिफोन र इन्टरनेट मात्रै थपिदिए पुग्ने कुरा गर्थे । तर, समयसँगै अहिले उनको आवाज बदलिएको छ । उनको आफ्नै पार्टी माओवादी सत्ताको खेलमा लिप्त भएको छ । उनका सहयोगीका रूपमा रहेका नेताहरू यौन अपराधमा मुछिएका छन् । राजनीति र चुनावका नाममा उठतीपुठती गर्नमा माओवादी कार्यकर्ताको संलग्नता बढ्दो छ ।
नेपालमा संघीय गणतान्त्रिक लोकतन्त्रको स्थापनापछि देशमा दुई पटक संघीय र प्रादेशिक चुनावहरू भैसकेका छन् । तर, तीबाट कुनै प्रकारको राष्ट्रिय प्रतिफल आएको छैन जो जनताको सन्तोषको बलियो आधार बन्न सकोस् । माओवादीसहितका राष्ट्रिय पार्टीहरूको हैसियत खस्किँदै गएको छ । कम्युनिस्टहरू मिलेर बस्न चाहँदैनन् । कांग्रेसहरू सत्ताको मोहमा डुबेर मृत्युवरण गर्न चाहन्छन् । केही हुनुपर्ने र केही नभएको अवस्थामा संघीय गणतन्त्रको बिजोग भएको छ । न मधेशमा, न पहाडमा कतै पनि सामञ्जस्य स्थापित हुन सकेको छैन । देशको युवा जनशक्ति वैदेशिक रोजगारीमा जान लालायित छ । उसको मन एकोहोरिएको छ । देशका अग्रणी विद्वान् राजेन्द्र विमलका शब्दमा— राजनीति मूल्यहीन हुँदै गएको छ । सम्पूर्ण देश हाट–बजारमा रूपान्तरित भएको छ । गणतन्त्रको ‘जनाजा’ उठाउन बोरामा नोट खाँदेर बसेका छन् बिचौलियाहरू ।
संघीय गणतन्त्रको स्थापनापछि प्रचण्डको नेतृत्वमा गठन भएको सरकारबाट आर्थिक अवसरको ओइरो लाग्ने आशा राखेका थिए जनताले । माओवादीहरू झन्डै तीन हजार वर्षदेखि सामन्तवादको प्रतीकका रूपमा देशमा जरो गाडेर रहेको निरंकुश राजतन्त्रबाट देशलाई मुक्त गर्न त सफल भए तर त्यो निरंकुश राजतन्त्रलाई आफ्नो स्वार्थरक्षाका लागि धर्मका नाममा, जातिका नाममा र पहाड–मधेशका नाममा टिकाउँदै आएको ‘भूमिगत’ सत्ताको पत्तो नै पाएनन् । मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा, रामबहादुर बादल लगायतका नेताहरू सत्ताभोगको आत्मरतिमा मग्न थिए । जनताले खास गरेर डा. बाबुराम भट्टराईले केही गर्लान् भन्ने आशा राखेका थिए । तर, उनी पञ्चायतकालमा राजा वीरेन्द्रको संकेत र स्वीकृतिमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले लागू गरेका तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वकालमा छाया अर्थमन्त्रीका रूपमा डा. रामशरण महतले परिशोधन गरेका विश्व बैंकको ‘स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम’ को रिमझिममा अल्झिए । त्योभन्दा पर सोच्ने शक्ति थिएन उनमा । माओवादी सत्तामा आएपछि पनि देशमा बजार अर्थ व्यवस्था निर्विघ्न अघि बढ्यो । गरिब जनतालाई बजारसम्म पुर्‍याउन समर्थ बनाउने अर्थ व्यवस्थाको तर्जुमा नै हुन सकेन । आफ्नो प्रतिरक्षामा डा. भट्टराईले नयाँ नारा निकाले— परिवर्तनको प्रतिफल कहीँ पनि रातारात आउँदैन । यसका लागि जनताले निरन्तर संघर्ष गर्नुपर्छ । डा. भट्टराई प्रधानमन्त्री पनि भए । तर, उनको प्रधानमन्त्रित्वकाल मुख्य सचिव लीलामणि पौड्यालसँग सफा वाग्मती नदीको परिकल्पनामा डुबुल्की लगाउँदैमै बित्यो ।
देशमा संविधानसभाको शासन पनि लामै समय चल्यो । यसबीच, प्रचण्डको कृपामा सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भए । उनले संविधानसभाको दोस्रो चुनाव गराए । त्यही समयदेखि माओवादी पार्टी ओरालो लाग्न थालेको हो । त्यति बेलासम्म प्रचण्डले नचाहेसम्म राजनीतिको पत्ता हल्लिँदैनथ्यो । अहिले त्यो स्थिति रहेन । माओवादी पार्टीका सर्वाधिक प्रभावशाली व्यक्तित्व कामरेड प्रचण्डको साख निरन्तर खस्किन थाल्यो । उनको नेतृत्वमा माओवादी पार्टीको चुनावी दायरा पत्याउनै नसकिने हिसाबले साँघुरियो । अहिले देशमा विभिन्न प्रवृत्ति चलायमान छन् । सहर–बजारका मानिसहरू प्रचण्डविरुद्ध आक्रोश ओकल्न थालेका छन् । देशका दोगला बुद्धिजीवीहरू सत्र वर्षपछि आएर पटकपटक जनयुद्धमा ‘मारिएका’ सत्र हजार नेपालीको प्रश्न उठाउन थालेका छन् । विभिन्न दलका ती नेताहरू, जसले नेपाल सरकार र माओवादीबीच भएको बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए वा साक्षीका रूपमा मूल हस्ताक्षरकर्तापछिको दोस्रो लहरमा बसेका थिए, परिवर्तनप्रति निरपेक्ष बन्न थालेका छन् । पक्कै पनि यो स्वाभाविक होइन । स्वयं माओवादी पार्टीको नेतृत्वमा पनि, केही नेतालाई छाडेर अरूमा, खासै जोस देखिँदैन । देश–विदेशमा ‘अध्यक्ष कामरेड’ को ‘लोकप्रियता’ खस्किएको छैन । तर, देश–विदेशमा नेताको लोकप्रियता जतिसुकै बढे पनि देशमा हुने चुनावमा उम्मेदवार भएको व्यक्तिका लागि विदेशको लोकप्रियता सम्पत्तिका रूपमा होइन, विपत्तिका रूपमा आउन सक्छ ।
माओवादी नेताहरू आफ्नो पार्टीलाई कांग्रेस, एमाले र राप्रपाको जस्तो अवस्थामा रूपान्तरित गर्न हतारिए । हिजो उनीहरूले गाउँघरमा सामन्तहरूका घर लुट्दा सामान्य जनता आँखा चिम्लिने गर्थे । किनभने, त्यो लुटको आयस्ता क्रान्तिकारीको रासनमा खर्च हुने गर्थ्यो । आज माओवादीका लागि चुनाव खर्च जुटाउन कुनै समस्या छैन । एक विश्वसनीय स्रोतले बताए अनुसार, माओवादीको ‘सञ्चालन खर्च’ एमालेको भन्दा कम छैन । कम्युनिस्ट पार्टीको यो ‘विकास’ विरुद्ध सडकमा र्‍याप गीतको सृजना हुनु अस्वाभाविक हुँदैन । सम्भवतः माओ त्सेतुङको दृढ नेतृत्व नभएको भए चीन यति छिटै आर्थिक विकासको उच्च विन्दुमा पुग्ने थिएन होला । स्कुल जाने बच्चाहरूले महेन्द्रमाला किताबमा जिल्ला हाल्न बटुलेका ‘सचित्र चीन’ का पाना नियाल्दानियाल्दै, रेडियो बेइजिङ सुन्दासुन्दै, कनीकुथी ‘बेइजिङ रिभ्यु’ पढ्दापढ्दै नेपालका गरिब जनताले माओवादीको शासन आएपछि आफ्नो देश पनि चीनजस्तै बन्ने आशा राखेका थिए होलान् । अब माओवादीले त्यो आशा धूलधूसरित भएको वास्तविकता स्विकार्ने बेला आएको छ । त्यसो नगर्ने हो भने, माओवादीसँग हिङ होइन, हिङ बाँधेको टालो पनि बाँकी रहनेछैन ।

दृष्टिकोण

महिला हिंसाविरुद्ध कानुन कार्यान्वयनको खाँचो

- वर्षा झा

यस वर्ष मनाइएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘सभ्य समाजको पहिचान: लैंगिक हिंसाविरुद्धको अभियान’ थियो । नेपाल सरकार तथा सम्बन्धित निकायहरू महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि नीतिगत रूपमा प्रतिबद्ध नै छन् । त्यसअनुरूपका नियम–कानुन पनि बनाइएका छन् । नेपालको संविधानले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र समाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणको संकल्प गरेको छ । केही वर्षयता सरकारी स्तरबाट लैंगिक हिंसा न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना तयार गरी स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण तथा नेतृत्व तह आदिमा महिलाको पहुँच बढेको पनि छ । तर महिलाप्रति हिंसात्मक व्यवहार विद्यमान रहेकाले उनीहरूको सामाजिक अवस्थामा परिवर्तन आउन नसकेको देखिन्छ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालको कुल जनसंख्याको आधाभन्दा बढी (५१.०४ प्रतिशत) महिला छन् । नेपालमा सन् २०२० मा मानव विकास सूचकांकमा ०६०२ अंकसहित १४२ औं स्थानमा छ । विश्व आर्थिक मञ्चद्वारा तयार पारिएको ग्लोबल लैंगिक समानता अन्तराल प्रतिवेदन–२०२० मा नेपाल ०.६८३ अंकसहित १०६ औं स्थानमा छ, जुन दक्षिण एसियामा बंगलादेशपछिको दोस्रो स्थान हो । केन्द्रीय तथ्यांक विभागको सन् २०२१ को तथ्यांक अनुसार नेपालमा महिला साक्षरता ५७.४ प्रतिशत छ । राष्ट्रिय मानव विकास प्रतिवेदन–२०२० अनुसार महिलाको श्रमशक्ति सहभागिता दर २६.३ प्रतिशत छ । यद्यपि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । हिंसा भनेको कुनै पनि व्यक्तिलार्ईर् दिइने यातना, पीडा, दुःख र अमानवीय व्यवहार हो जुन शारीरिक वा मानसिक दुवै किसिमको हुन सक्छ र मानिसमा रहेका अन्धविश्वास, सामाजिक लिंगभेद आदिका कारण हिंसाले प्रोत्साहन पाउँछ । हिंसा घरभित्र वा बाहिर दुवै ठाउँमा हुन सक्छ । परम्परागत दृष्टिकोणबाट केवल बलात्कार र यौन दुर्व्यवहारलार्ईर् महिलाविरुद्ध हुने हिंसाका रूपमा लिइन्छ तर हिंसाभित्र धेरै कुरा पर्दछन् । बालविवाह, बहुविवाह, जबर्जस्ती विवाह, जबर्जस्ती करणी, चेलीबेटी बेचबिखन, गर्भपतन, अनमेल विवाह, दाइजो प्रथा, छाउपडी प्रथा यी सबै महिलाविरुद्ध हुने हिंसाका कारक तत्त्व हुन् । हिमाल–पहाडदेखि तराई–मधेशसम्म उच्च घरानियादेखि सुकुम्बासी झुपडीसम्म, राजनेतादेखि मतदातासम्म जहाँसुकै, जोसुकैबाट र जहिले पनि हिंसा हुन सक्ने जोखिममा महिलाहरू हरपल बाँचिरहेका हुन्छन् ।
नेपालले लिंगमा आधारित महिला हिंसाविरुद्ध संवैधानिक प्रतिबद्धता जनाएको छ । नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–महासन्धिको कार्यान्वयनका सन्दर्भमा नेपालमा लैंगिक समानता र महिलाविरुद्ध हुने घरभित्रका सबै प्रकारका हिंसा नियन्त्रण गर्नका लागि छुट्टै ऐनका रूपमा २०६६ वैशाख १४ देखि घरेलु हिंसा (कसुर र सजाय) ऐन–२०६६ लागू गरिएको छ । त्यसै गरी घरेलु हिंसा (कसुर र सजाय) नियमावलीसमेत कार्यान्वयनमा छ । पछिल्लो समयमा लैंगिक हिंसा न्यूनीकरणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयास भएका छन् । नेपालका सन्दर्भमा लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन–२०६६ द्वारा महिलाविरुद्धका भेदभावपूर्ण कानुनको खारेजी र लैंगिक समानताका लागि कानुन संशोधन गरी लागू छ । महिलामाथि हुने हिंसाका अनेक स्वरूप र प्रकृतिलाई सम्बोधन गर्न मुलुकी ऐन–२०२० लाई २०७५ भदौदेखि मुलुकी फौजदारी संहिता, मुलुकी देवानी संहिता र अपराध संहिता लगायतका विभिन्न ऐनद्वारा प्रतिस्थापन गरिएको छ । ती ऐनहरूमा मुलुकी अपराध संहिता–२०७४, मुलुकी फौजदारी संहिता–२०७४, मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४, मुलुकी देवानी संहिता–२०७४, मुलुकी देवानी कार्यविधि संहिता–२०७४ छन् । यी ऐनहरूमार्फत सबै प्रकारका हिंसा, भेदभाव, शोषण, सामाजिक–सांस्कृतिक कुरीतिजन्य व्यवहार वा अभ्यास, महिलामाथि हुने हानिकारक परम्परागत अभ्यासहरूलाई आपराधिक कार्यका रूपमा व्याख्या गरी हिंसाको प्रकृति र स्वरूपहरूका आधारमा कानुनी सजाय तथा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । महिलाविरुद्ध हुने हिंसाको कानुनी उपचार, सोको समाधान र आपराधिक कार्यका लागि कसुर तथा त्यसको मात्रा निश्चित गर्दै दण्ड–सजायका निमित्त माथि उल्लिखित ऐनहरू विशेष छन् । यति मात्र होइन, न्यायमा पहुँच नभएकाहरूलाई राज्यले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने व्यवस्था मिलाएको छ । कानुनी सहायतासम्बन्धी ऐन–२०५४ ले आर्थिक रूपले विपन्न वर्गलाई यो सेवा उपलब्ध गराउने भनेको थियो । न्यायमा पहुँच हुन नसक्नुमा आर्थिक अवस्था मात्र कारक तत्त्व होइन भन्ने ठहर भैसकेको छ । केही ऐनलाई संशोधन गर्ने ऐन–२०७२ ले घरेलु हिंसा तथा लैंगिक हिंसाबाट पीडित व्यक्तिलाई पनि निःशुल्क कानुनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यसका लागि जिल्ला कानुनी सहायता समितिमा दरखास्त दिनुपर्छ । कानुनी सहायता प्राप्त गर्न चाहने व्यक्ति स्वयं दरखास्त फारम भर्न नजान्ने वा समितिको कार्यालयमा आई दरखास्त फारम भर्न नसक्ने अवस्था रहेछ भने निजले पत्याएका अन्य व्यक्तिले समितिमा दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । यसरी घरेलु हिंसा तथा लैंगिक हिंसाबाट पीडित व्यक्ति जोकोहीले तथा वार्षिक आम्दानी ४० हजार रुपैयाँभन्दा कम भएका वा द्वन्द्वपीडित महिलाले निःशुल्क कानुनी सहायता प्राप्त गरी लाभ लिन सक्ने व्यवस्था गरिएको भए पनि ग्रामीण क्षेत्रका लक्षित समूह यसबाट यथेष्ट रूपमा लाभान्वित हुन सकिरहेका छैनन् । यस्ता पक्षप्रति राज्यका संयन्त्रहरू संवेदनशील हुनु जरुरी छ । नेपालमा कुनै पनि क्षेत्रमा नीति, ऐन र कानुन अभावभन्दा पनि तिनको कार्यान्वयन पक्ष कमजोर हुने गरेको छ । लैंगिक हिंसा प्रभावित ग्रामीण क्षेत्रका महिला तथा बालिकालाई केन्द्रमा राखी छिटोछरितो र प्रभावकारी रूपले मनोसामाजिक सेवा, सुरक्षा र संरक्षण, चिकित्सा सहायता तथा कानुनी सेवा, सीपमूलक तालिम तथा आयआर्जनमा सहयोग लगायतमा ध्यान नदिएसम्म कानुन जतिसुकै राम्रो बनाए पनि त्यो निष्प्रभावी नै भइरहन्छ ।
समाजमा विद्यमान पितृसत्तात्मक मूल्य र मान्यताहरू, चरम गरिबी, शिक्षा र चेतनाको कमी, बाल–विवाह, बहुविवाह तथा संस्कृति र परम्पराहरू महिला सशक्तीकरणका बाधकका रूपमा छन् । यसर्थ राज्यले महिलाको शरीर, सम्पत्ति, श्रम र सत्ता (चार ‘स’) माथिको अधिकार सुनिश्चित गर्नुपर्छ । कानुनबारे महिलालाई जानकारी गराउनुपर्छ । कानुनहरू प्रभावकारी ढंगले कार्यान्वयन गरिनुपर्छ । महिला हिंसाका सम्बन्धमा अनुसन्धान गर्न दक्ष महिला प्रहरी, महिला कानुन व्यवसायी, अदालतमा गोप्य इजलास र महिला न्यायाधीश चाहिन्छन् । नत्र महिलाले जतिसुकै आँट गरेर पीडा सार्वजनिक गरे पनि उल्टो पीडित हुने स्थिति बन्छ । पितृसत्तात्मक सोचमा परिवर्तन ल्याउन महिला पनि प्रतिबद्ध हुनुपर्छ । नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक व्यवस्था तथा सर्वोच्च अदालतबाट भएका आदेशहरूका सन्दर्भमा महिला हिंसा नियन्त्रणसँग सम्बन्धित विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।

दृष्टिकोण

प्रधानमन्त्री देउवालाई पूर्वबैंकरको पत्र

आफ्नो पार्टीको जनमत २० प्रतिशत हाराहारी ह्रास हुँदा पनि र पार्टीले ३ प्रतिशत मत नकटाउँदासमेत पार्टी प्रमुखहरूले राजीनामा नदिनुपर्ने थोरै मुलुकमा सायद नेपाल पर्ला ।
- भुवन दाहाल

प्रधानमन्त्रीज्यू,
सर्वप्रथम, २०४८ सालदेखि २०७९ सालसम्म लगातार संसद्को चुनाव जितेर रेकर्ड कायम गर्नुभएकामा विशेष बधाई । यहाँको भाग्य यति बलियो रहेछ, ५० वर्षभन्दा कम उमेरमा २०५२ सालमा नेपालको प्रधानमन्त्री हुनुभयो । २०४७ सालमा लोकतन्त्र आएपछि अरू कोही ५० वर्षभन्दा कम उमेरमा नेपालको प्रधानमन्त्री हालसम्म भएको छैन । दुर्गम इलाकामा, सामान्य परिवारमा हुर्केर पाँच–पाँचचोटि देशको प्रधानमन्त्री हुनु तथा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीको केन्द्रीय सभापतिमा दुई–दुईचोटि चुनिनु चानचुने कुरा होइन । तर, यहाँका व्यक्तिगत उपलब्धिलाई समग्र नेपाली जनताको उपलब्धिसँग तुलना गर्दा कस्तो देखिएला ? हेरौं—
यो अवधिमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, बैंकिङ लगायत धेरै क्षेत्रमा विकास भएको यथार्थ हो । तर, लोकतन्त्र आएपछि नेपालीलाई सिंगापुर र स्विट्जरल्यान्डको सपना देखाइएको पृष्ठभूमिमा, ती दुई देशको त कुरै छोडौं, हाम्रा नजिकका छिमेकीसँग मात्र तुलना गर्दा पनि अवस्था कति दयनीय छ भन्ने थाहा हुन्छ । हेर्नुस् त, अहिले हामी कति बेथितिबाट गुज्रिएका छौं ! अधिकांश क्षेत्रमा सुशासनको अभाव छ । असल मानिसलाई बाँच्नै गाह्रो छ । हाम्रा छोराछोरी विदेश गएपछि फर्केर आउनै चाहँदैनन् ।
हामीले छिमेकीले जति पनि विकास किन गर्न सकेनौं ? कारण मैले बताउनैपर्दैन, संसार घुम्नुभएका र यतिका चोटि प्रधानमन्त्री भैसक्नुभएका यहाँलाई धेरै राम्ररी थाहा हुनुपर्छ । देशको तीव्र विकास सामान्य प्रयासले मात्र सम्भव हुन्न । सुशासनका विषयमा अविचलित अठोट र दूरदृष्टिका साथ दैनिक पन्ध्र–सोह्र घण्टा सृजनात्मक काममा खटी जनताको आकांक्षा अनुरूप तीव्र विकास गर्न आफू हैन अर्कै पात्र उपयुक्त हुन्छ भन्ने वास्तविकता क्रान्तिकारी तथा संघर्षशील पृष्ठभूमिका यहाँलाई थाहा नहुने कुरै छैन ।
२०४८ सालमा यहाँले डडेलधुरामा २४,५७० मत पाउनुभएको थियो, जुन निकटतम प्रतिद्वन्द्वीको भन्दा झन्डै चार गुणा बढी थियो । डडेलधुरावासीले यहाँलाई यति धेरै माया गर्दा न बालुवाटारको ढोका ‘खुल जा सिमसिम’ भन्दै खुलाउनुपर्थ्यो, न यहाँले ‘फ्री टिकट फ्री भिसा’ मा कसैलाई मलेसिया नै पठाउनुपरेको थियो, न यहाँको परिवारको हैसियत ‘हामीलाई भोट नहाल्ने ठाउँमा थोडै हामी बजेट पठाउँछौं’ भन्ने थियो, न यहाँसँग महागठबन्धन नै थियो । तर, २०७९ सालमा महागठबन्धन गरेर यहाँले पाउनुभएको २५,५३४ मत निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर पनि छैन । कल्पना गर्नुस् त, ती निकटतम प्रतिद्वन्द्वी सागर ढकाल गुल्मीको नभई डडेलधुराकै स्थायी बासिन्दा भएका भए चुनावको नतिजा कस्तो हुन्थ्यो होला ? एउटा ठिटो (टुरिस्ट उम्मेदवार), चार महिनाअगाडि बल्ल डडेलधुरा टेकेको मान्छेलाई डडेलधुरावासीले त्यत्रो मत दिएर यहाँलाई स्पष्ट सन्देश दिएका छन्, ‘तमले डडेलधुराका लाई भौत गरया छ, हाम तमलाई अपमानित नाई अद्दा । आब भण्या ज्वान मान्सको पालो आयो । आब तमले सत्ताको चाबी ज्वान मान्सका हातमा दिय र तम सयाना भयाले अरती दिन्या भै वर बस ।’
पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनबाट पाठ सिकेर यहाँले सुशासन कायम गर्नुहोला भन्ने झीनो आशा थियो, तर सरकार यसरी चलाउनुभयो, यहाँको नेतृत्वको गठबन्धनलाई जनताले ‘ठगबन्धन’ पो भन्न थाले । यहाँका धेरै मन्त्रीले चुनावै हारे । महागठबन्धनका बावजुद यहाँको पार्टीको नतिजा खासै उत्साहप्रद छैन, प्रतिनिधिसभामा एमालेभन्दा केही संख्या ठूलो भए पनि ।
२०७४ सालको चुनावमा नेपाली कांग्रेसले ३२.७८ प्रतिशत जनमत पाएको थियो, जुन अहिले २५.७१ प्रतिशतमा झरेको छ अर्थात् जनमतमा २१.५६ प्रतिशत ह्रास भएको छ । एमालेको मत पनि २०७४ सालको ३३.२५ प्रतिशतबाट २६.९५ प्रतिशतमा झरेको छ तर त्यो १८.९६ प्रतिशत मात्र कम हो । अर्थात्, एमालेको कांग्रेससँगको मतान्तर बढेको छ (०.७४ प्रतिशत विन्दुबाट १.२४ प्रतिशत विन्दु) । यहाँ पहिलोचोटि सभापति बन्दा नेपाली कांग्रेस जनमतमा देशको पहिलो पार्टी थियो, एमालेभन्दा १.८९ प्रतिशत विन्दुले अगाडि ।
अर्कातिर, माओवादी केन्द्रले २०७९ सालको चुनावमा ११.१३ प्रतिशत जनमत पायो जबकि २०७४ सालको चुनावमा १३.६६ प्रतिशत थियो । जनमतमा १८.५२ प्रतिशतको ह्रास, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पार्टीको मत जोड्दासमेत ! पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी त ३ प्रतिशत मत ल्याउन नसकेर राष्ट्रिय पार्टीसम्म पनि बन्न सकेन जबकि चुनावभन्दा अगाडि यो प्रतिनिधिसभामा चौथो ठूलो पार्टी थियो । आफ्नो पार्टीको जनमत २० प्रतिशत हाराहारी ह्रास हुँदा पनि र पार्टीले ३ प्रतिशत मत नकटाउँदासमेत पार्टीप्रमुखहरूले राजीनामा नदिनुपर्ने थोरै मुलुकमा सायद नेपाल पर्ला ।
बहालवाला र भूतपूर्व प्रधानमन्त्रीहरूले नेतृत्व गरेका चारै पार्टीलाई नेपाली जनताले कम मत हालेर ‘नो नट अगेन’ भन्ने स्पष्ट सन्देश दिएका होइनन् र ? पार्टी नेतृत्वमा नरहेका अर्का भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाललाई इलामेली जनताले केवल ‘नो नट अगेन’ भन्दा पुग्थ्यो, भनिदिए । नेपाली जनताले यहाँहरूलाई सम्मान गर्दै आएका छन्, ‘नो नट अगेन’ पनि यहाँहरूको अपमान होइन । ‘यहाँहरूले जति सक्नुहुन्थ्यो, गर्नुभयोÙ अब आराम गर्नुस् र नयाँ पुस्तालाई सल्लाह दिने भूमिकामा बस्नुस्’ भन्नु त सम्मान नै हो नि !
हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीमा कम्तीमा दुई गुण हुनु जरुरी छ— (१) लक्ष्य तथा कार्यक्रममा स्पष्टतासहित सुशासनका मामिलामा सम्झौता नगर्ने, (२) शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ भई देशका लागि दैनिक पन्ध्र–सोह्र घण्टा सृजनात्मक काममा खट्न सक्ने । तर, यहाँबाट यो सम्भव छैन । देशलाई विकसित बनाउने ‘इच्छा’ मात्र भएर पुग्दैन भन्ने त लन्डन स्कुल अफ इकोनोमिक्सको समेत संगत पाएका यहाँले मागको परिभाषा पढ्नुभएकै होला । त्यसका अलावा, अंग्रेजीको प्रख्यात उखान ‘इफ विसेज वैर हर्सेज, बेगर्स उड राइड’ त पक्कै सुन्नुभएको हुनुपर्छ । यसबारे एक्लै बसेर चिन्तन गर्न म यहाँलाई विनम्र अनुरोध गर्छु ।
आरजु म्याडमलाई पनि मलाई केही भन्नु छ । म्याडम, हाम्रा दुइटा भेट बैंकिङ विषयमा भएको थियो, विशुद्ध प्रोफेसनल । यहाँ शिक्षित हुनुहुन्छ, संसार घुम्नुभएको छ, नेतृत्व सम्बन्धी प्रशिक्षण पनि दिनुहुन्छ । यहाँलाई आफ्ना पति, प्रधानमन्त्री देउवाको ८० वर्ष पुग्न लागेको शरीर र दिमागले पन्ध्र घण्टाको निरन्तर खटाइ हैन, आराम खोजिरहेको छ भन्ने लाग्दैन ? यहाँलाई लाग्दैन, उहाँले देशका लागि प्रधानमन्त्रीभन्दा पनि अभिभावक भएर सल्लाहकारको भूमिकामा बढी योगदान गर्न सक्नुहुन्छ ? छैटौंचोटि प्रधानमन्त्री भएर चाहिँ उहाँको इज्जत बढ्छ र ?
आरजु म्याडम, प्रधानमन्त्री देउवालाई भनिदिनुस्, ‘अब तिमी छैटौंचोटि प्रधानमन्त्रीको दौडमा नलाग, इमानदार र सक्षम व्यक्तिलाई संसदीय दलको नेता चुनेर आफू अभिभावक/सल्लाहकार भएर बस, अब बन्ने प्रधानमन्त्रीलाई सघाऊ । यसले नै तिम्रो यश बढाउनेछ, देशको कल्याण गर्नेछ । तिम्रा श्रद्धेय नेता गणेशमान सिंह प्रधानमन्त्री नभएर पनि धेरै मान्छेको दिल र दिमागमा हुनुहुन्छ त !’
प्रधानमन्त्रीज्यू, यहाँले देख्नुभएकै छ, ४० वर्ष नपुग्दै इम्यानुएल म्याक्रोनले फ्रान्सजस्तो देश चलाएको, ४२ वर्षका ऋषि सुनकले संयुक्त अधिराज्यको नेतृत्वको अवसर पाएको, एक समयका चर्चित महाथिर मोहम्मद कुर्सीमा बसिरहने लालसाका कारण हालै चुनावमा नराम्ररी पराजित भएको । यहाँले सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नुभएन भने नेपाली जनता कांग्रेस पार्टी भनेर बसिरहनेवाला छैनन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीमार्फत नेपाली जनताले घण्टी र माइक बजाइसकेका छन् ।
यहाँले सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गरिदिनुभयो भने नेपाली कांग्रेसमा मात्र हैन, एमाले र माओवादीमा पनि सुधार आउनेछ । ओली ७० वर्षे उमेरहदको अनौठो व्याख्या गरेर पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँले समन्वयकारी भूमिका खेल्नुभएको भए आज एमाले निकै ठूलो पार्टी हुने थियो । प्रचण्ड झन्डै ४० वर्षदेखि पार्टीप्रमुख हुनुहुन्छ, पार्टी अवनतिको दिशामा छ । दुइटै कम्युनिस्ट पार्टीको जनमतमा ठूलो ह्रास आएको छ तर पनि तिनका अन्य नेता पार्टी अध्यक्षलाई ‘कमजोरी स्विकार्नुस्’ भन्न सक्ने अवस्थामा छैनन् । यहाँले आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरण गरिदिनुभयो भने यी दुइटै पार्टीका युवाहरूले पनि आफ्ना नेतृत्वहरूको कमजोरीबारे खुलस्त बोल्ने थिए । यहाँको उदाहरणीय सत्ता हस्तान्तरणले देशको भलाइ गर्नेछ । यहाँ राजनेता हुने दिशातिर लम्कनुहुनेछ । आफ्नो छेउछाउ घुम्ने लोभीपापीका कुरा सुन्ने हैन, आफूले आदर्श मानेका बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई सम्झनुस् । अनि यहाँको सम्मान बढ्ला । आगे यहाँकै मर्जी !

दाहाल पूर्वबैंकर हुन् ।

Page 8
विदेश

बेलायतमा पढाइ छाड्दै 'वर्क पर्मिट' मा

बेलायत युरोपेली संघको सदस्य रहँदा युरोपेली नागरिकलाई चाहेजति बस्न र काम गर्न पाउने अधिकार थियो । तर, ब्रेक्जिटपछि युरोपेली र अन्य मुलुकका नागरिकका लागि एउटै अध्यागमन नियम लागू भएपछि कामदार अभाव पूरा गर्न बेलायत सरकारले लचिलो नीति ल्याएको हो ।
- नवीन पोखरेल
बेलायतको लन्डनस्थित वेस्ट लन्डन विश्वविद्यालय परिसरमा विद्यार्थी ।तस्बिर: एजेन्सी

(लन्डन)
युनिभर्सिटी अफ वेस्ट लन्डनमा इन्टरनेसनल टुरिजम एन्ड एभिएसन म्यानेजमेन्टमा स्नातकोत्तर गर्न सेप्टेम्बरमा बेलायत आइपुगेका एक नेपाली विद्यार्थी तीन महिनामा नै पढाइ छाड्ने तयारीमा छन् । पढाइ खर्च वार्षिक १४ हजार ७ सय ५० पाउन्ड (झन्डै २२ लाख रुपैयाँ) मध्ये आधा तिरेर बेलायत टेकेका उनी पछिल्लो केही दिनयता वर्क पर्मिटको चक्करमा लागेका हुन् ।
‘विश्वविद्यालयलाई बुझाउनुपर्ने बाँकी रकममा केही थपेर एजेन्टलाई बुझाए वर्क पर्मिट नै पाइने रहेछ,’ उनले भने, ‘पढाइमै अल्झिरहन झन्झटिलो र खर्चिलो हुने भएकाले मन फेरेको हुँ ।’
त्यस्तै, युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायरमा स्नातक (अनर्स) बिजनेस एन्ड म्यानेजमेन्ट पढ्न साढे तीन वर्षको भिसा लिएर गत जनवरीमा बेलायत आएका थिए रोशन सापकोटा । तीन वर्षको कोर्स, वार्षिक ९ हजार २ सय ५० पाउन्ड शुल्क । पहिलो वर्षको पढाइ शुल्क नेपालबाटै तिरेर आएका भए पनि पढाइ सकुन्जेल थप ३० लाख रुपैयाँ लाग्ने भएपछि उनले पनि पढाइलाई निरन्तरता दिएनन् ।
त्यसका साथै, आफू उत्तीर्ण हुन्छु भन्ने आत्मविश्वास पनि निकै झिनो छ उनमा ।
द्विविधा र सास्तीबीच उनले विद्यार्थी भिसालाई वर्क पर्मिटमा परिवर्तन गर्ने निधो गरेर एक बंगाली रेस्टुरेन्ट व्यवसायीलाई १० हजार पाउन्ड बुझाइसकेका छन् । ‘सर्टिफिकेट अफ स्पोन्सरसिप’ को प्रतीक्षामा रहेका उनले छिट्टै स्किल्ड वर्कर भिसाका लागि आवेदन दिने तयारी गरिरहेको बताए ।
बेलायत पस्न विद्यार्थी भिसा अनि यहाँ आइपुगेपछि वर्क पर्मिट । पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनका लागि बेलायत आएर स्किल्ड वर्कर भिसा सिस्टममा जाने क्रम ह्वात्तै बढेको छ । पढाइबीचमै छाडेर विद्यार्थीहरू खास गरी केयर र हस्पिटालिटी क्षेत्रमा वर्क पर्मिट भिसातर्फ आकर्षित हुन थालेका हुन् ।
यो प्रवृत्ति नेपाली विद्यार्थीमाझ पनि बढ्दै गएको छ । कम्तीमा १० देखि १५ हजार पाउन्ड (करिब २० लाख रुपैयाँ) तिरेर विद्यार्थी वर्क पर्मिट (टियर टु) क्याटेगोरीमा स्वीच भइरहेका छन् उनीहरू । अध्ययनभन्दा कमाउन र बेलायतमै ‘सेटल्ड’ हुन इच्छुक नेपालीले एक वर्षको विश्वविद्यालय फी खर्च गरे ५ वर्षको वर्क पर्मिट किन्न पाइने भएकाले पनि भिसा परिवर्तन गर्न प्रेरित भएका देखिन्छन् ।
सरकारको यो लचिलो नयाँ प्रणालीले नेपाली विद्यार्थी, व्यवसायी, एजेन्ट र दक्षिण एसियालीमूलका व्यापारीका साथै सोलिसिटरहरू समेत लाभान्वित भएका छन् । पहिलो, होम अफिसबाट मान्यता प्राप्त रोजगारदाताले जागिर अफर गरे विद्यार्थी रुटबाट बिनाडिग्री सजिलै स्टाटस परिवर्तन गर्न सकिन्छ । दोस्रो, अन्तर्राष्ट्रिय विद्यार्थीलाई पढाइमै रहे महँगो पढाइ खर्च र उत्तीर्ण गर्नुपर्ने झन्झट भएकाले पनि छिटो सेटल्ड हुन पनि विद्यार्थीहरू वर्क पर्मिटतर्फ लागेका हुन् । भिजिट भिसा, सिजनल भिसा र छोटो अवधिको अध्ययन भिसा भएकाले भने स्किल्ड वर्कर रुटमा जान मिल्दैन ।
बेलायतको सरकारी तथ्यांकअनुसार २०२१ देखि एक वर्षभित्र झन्डै २ लाख ४९ हजार जनाले वर्कर भिसा पाएका छन् । सन् २०१९ को कोभिड महामारीको तुलनामा यो ८२ प्रतिशतले बढी हो । बेलायत सरकारले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान् तथा दक्ष कामदार भित्र्याउने उद्देश्यसहित सन् २०२१ को जनवरीदेखि अंकमा आधारित नयाँ भिसा प्रणाली सुरु गरेको थियो ।
‘स्किल्ड वर्कर भिसा’ का लागि रोजगारदाताबाट जागिरको अफर, न्यून तहको अंग्रेजी र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउन्ड चाहिन्छ । आप्रवासी कामदारहरूले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनुपर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् । भिसा अवधि ५ वर्षसम्म हुनेछ ।
बेलायतले सामान्य, प्रभावकारी र लचिलो उक्त प्रणालीले रोजगारदातालाई आवश्यकताअनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने अपेक्षासहित यो रुट लागू गरेको हो । नयाँ नियमका कारण तेस्रो मुलुकबाट सिधै वर्क पर्मिटमा आउन वा विद्यार्थी भिसामा बेलायतमै आएपछि रुट परिवर्तन गर्न सहज बनेको कानुनविद् महेशकुमार दाहाल बताउँछन् ।
बेलायत ईयू सदस्य हुँदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो । तर, अहिले युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू छ । कामदार अभाव पूरा गर्न पनि सरकारले यसमा लचिलो नीति ल्याएको अध्यागमन सल्लाहकारहरूको बुझाइ छ ।
ब्रेक्जिटसँगै युरोपबाट बेलायत खुला आवागमन बन्द भएपछि गैरईयू मुलुकबाट काम गर्न र पढ्न आउने मानिसहरूको संख्या बढ्ने अनुमान गरिएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक प्रा. सूर्यप्रसाद सुवेदी (क्यूसी) बेलायतमा प्रतिस्पर्धा र गुणात्मक क्षमताको भरमा सबैले प्रगति गर्न सक्ने वातावरण भएकाले पनि यहाँ विश्वभरका मानिसको रोजाइ भएको बताउँछन् ।

विदेश

पेरुमा हिंसात्मक प्रदर्शन, २० जनाको मृत्यु

लिमा (एजेन्सी)– पेरुमा पूर्वराष्ट्रपति पेद्रो कास्टिलोलाई महाभियोग लगाइएको विरोध सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । डिसेम्बर ७ मा कास्टिलालाई महाअभियोग लगाइएपछि सुरु भएको प्रदर्शनका कारण कम्तीमा २० जनाको ज्यान गइसकेको छ । कास्टिलाको बहिर्गमनसँगै गहिरिएको राजनीतिक संकटबीच दुई जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।
समस्या समाधानका लागि राज्य परिषद् र चर्चका नेताहरूबीच शुक्रबार तीन घण्टा लामो वार्ता भएको बीबीसीले उल्लेख गरेको छ । वार्तापछि राष्ट्रिय न्यायिक बोर्डका प्रमुख जोसे अभिलाले जनतालाई हिंसा अन्त्य गर्न तथा वार्तामार्फत समस्या समाधान गर्नका लागि आह्वान गरेका छन् । उनले प्रदर्शनका कारण प्रभावित स्थानहरूमा सरकारका मन्त्रीहरूले भ्रमण गर्ने र जनतासँग संवाद गर्ने बताएका छन् । प्रदर्शन चर्कँदै गएपछि दक्षिणपूर्व सहर कुस्कोमा हजारौं पर्यटकहरू अलपत्र परेका जनाइएको छ । प्रदर्शनकारीले विमानस्थल बन्द गरिदिएपछि ५ हजारभन्दा बढी पयर्टकहरू अन्यत्र जान नसकेका जनाइएको छ ।
कास्टिलाको बहिर्गमनसँगै राष्ट्रपति बनेकी डिना बोलुआर्टेले भने हासम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । उनी गत डिसेम्बर ८ मा राष्ट्रपति चयन भएकी थिइन् । त्यसअघि उनी उपराष्ट्रपति थिइन् । राष्ट्रपतिमा चयन भएलगत्तै बोलुआर्टेले संसद् विघटन गर्ने पूर्वराष्ट्रपति क्यास्टिलोको आलोचना गर्दै ‘एकताको सरकार’ गठनका लागि आह्वान गरेकी थिइन् ।
पेद्रो क्यास्टिलोले संसद् भंग गर्ने र आपत्कालीन सरकार गठन गर्ने घोषणा गरेपछि बुहमत सांसदहरूको निर्णयले क्यास्टिलोलाई हटाएर उपराष्ट्रपतिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । पेरुको १३० सदस्यीय कंग्रेसका १०१ सदस्यले क्यास्टिलोविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । पेद्रो कास्टिलो सन् २०२१ को जुलाईमा पेरुको राष्ट्रपति निर्वाचित भएका थिए ।

Page 10
समाचार

किन विवादमा आइरहन्छन् साम्पाङ ?

जातीय सद्भाव खलबलिने गरी सामाजिक सञ्जालमा उत्रिएपछि कानुनी कारबाही गर्न माग
- प्रदीप मेन्याङ्बो
कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि आफ्नो भनाइ राख्दै नगरप्रमुख हर्क साम्पाङ । तस्बिर: प्रदीप/कान्तिपुर

(सुनसरी)
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद उत्कर्षमा पुगेको छ । साम्पाङले स्वेच्छाचारी नीति अपनाएर ‘तोक आदेशका आधारमा नगर चलाउँछु’ भनेपछि वडाध्यक्षले बिहीबार प्रमुखको राजीनामा मागे । भोलिपल्ट प्रमुख साम्पाङले उल्टै वडाध्यक्षहरू नसच्चिने हो भने राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गरे ।
साम्पाङले स्वेच्छाचारी ढंगले गैरकानुनी र गैरजिम्मेवार अभिव्यक्ति दिँदै बसेको वडाध्यक्षहरूको आरोप छ । साम्पाङले पनि वडाध्यक्षहरू स्वेच्छाचारी, गैरजिम्मेवार भएको भन्दै प्रत्यारोपमा उत्रिएका छन् । उनीहरूबीच दुई महिनाअघिदेखि विवाद चर्किएको हो । गत असोज १३ मा बसेको कार्यपालिका बैठकमा साम्पाङले धरान–१७ को सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने प्रस्ताव राखेका थिए । तर कार्यपालिका सदस्य अनुप देवानले उक्त पार्कको पहिलैदेखि डीपीआर तयार भइसकेकाले नाम परिवर्तन नगरी पूर्वकार्ययोजना अनुसार बजेट विनियोजन गर्दै पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने र बहुसांस्कृतिक जातीय संग्रहालय धरान–१४ मै निर्माण भइरहेको आग्रह गरेपछि साम्पाङले ‘तपाईंको बोल्ने पालो सकियो, अब बस्नुस्’ भनेका थिए । तर आफ्नो कुरो नसकिएकाले नबस्ने र बोल्न दिनुपर्ने अडान लिएका देवानलाई तत्कालै उनले ‘नबस्ने हो भने निस्केर जानुस्’ भनेपछि विवाद सुरु भएको थियो ।
देवानको समर्थन गर्दै २० वडाध्यक्ष र ८ कार्यपालिका सदस्यले साम्पाङले जनप्रतिनिधिमाथि निरंकुशता, स्वेच्छाचारिता र अराजकता लाद्न खोजेको आरोप लगाउँदै माफी माग्न आग्रह गरेका थिए । तर उनले आफूले कुनै गल्ती नगरेकाले माफी नमाग्ने अडान लिएपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका थिए । विवादका कारण कार्यपालिका बैठक बस्न सकेन । यसबीच दुई पटक कार्यपालिका बैठक बोलाइए पनि वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले साम्पाङ सच्चिएर माफी नमागेसम्म बैठक बहिष्कार गर्ने चेतावनी दिँदै आएका थिए । मंसिर २९ मा कार्यपालिका बैठक बसे पनि दुवै पक्षले पुरानै अडान लिएपछि विवाद मत्थर हुनुको साटो बढ्दै गएको छ ।
स्थानीय तहको चुनाव जितेर धरान उपमहानगरपालिका प्रमुखको कुर्सीमा बस्दै गर्दा साम्पाङले जनताको अभिभावक बनेर विकास निर्माणमा ध्यान दिने र त्यसका लागि सबै दल तथा जनप्रतिनिधिसँग मिलेर काम गर्ने बताएका थिए । वडाध्यक्ष र कार्यपालिका सदस्य एकातिर छन् भने उनी अर्कोतिर, यसो हुँदा ‘सबैलाई मिलाएर लैजाने’ भन्ने नीतिलाई साम्पाङले अख्तियार गर्न चुकेका छन् । धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमका अनुसार जनप्रतिनिधिलाई साम्पाङले धरान लुट्न र बिगार्न आएको सम्म भनेका छन् । ‘उनले हातै जोडेर माफी माग्नु पर्दैन तर कम्तीमा ‘बोल्दा शब्दमा तलमाथि पर्‍यो सदस्यज्यूहरू, अन्यथा नलिनु होला, हामी सबै अब एक भएर धरानको विकासका लागि अगाडि बढौं’ भन्न पनि गाह्रो मानेका छन्,’ इङ्वारमले भने, ‘मेयरको यस्तो रवैयाले त कसरी धरानको विकास गर्ने चिन्ता लाग्न थालेको छ । अझै ४ वर्ष बिताउनुपरेको छ मेयर साबसँग ।’ वडाध्यक्षहरूले उनले कार्यशैली परिवर्तन गरेर ‘म’ को ठाउँमा ‘हामी’ भन्ने भावनाअनुरूप धरानको विकास गर्न एकताबद्ध रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न पनि माग गरेका छन् ।
वडा–१७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई (मनोज) का अनुसार साम्पाङले अराजक र स्वेच्छारी प्रवृत्ति देखाउँदै गैरसंवैधानिक र गैरकानुनी रूपमा तोक आदेशकै आधारमा काम गरिरहेकाले त्यसको जवाफदेही नगर कार्यपालिका हुँदैन । ‘मेयर साम्पाङले विभिन्न विकास निर्माणका लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएका छन्, निर्णयबिनै राष्ट्रिय वन क्षेत्रमा पर्ने ठाउँमा माया धराने लुगा धुने साबुन फ्याक्ट्रीको निर्माण कार्य सुरु गरेका छन्,’ उनले भने, ‘धरान–१३ र २० को बीचमा पर्ने बीपी पार्कको नाम परिवर्तन गरी बिनानिर्णय आफ्नो फोटो राखेर ‘श्रम संस्कृतिक पार्क’ नामकरण गरेका छन्, सामाजिक सञ्जालमा पदीय मर्यादाविपरीत जथाभावी तुच्छ शब्दहरू प्रयोग गरेर गालीगलौज गर्दै आएका छन् ।’

सामाजिक सञ्जालमा आक्रोश
विवादको शृंखलामा घेरिएका साम्पाङ पछिल्लो समय जातीय सद्भाव खलबलिने गरी सामाजिक सञ्जालमा उत्रिएका छन् । ‘चमारे बुद्धि’ शब्द प्रयोग गरी दलित समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको, सेवाग्राहीहरूलाई कार्यकक्षमा हप्कीदप्की गर्नुका साथै राष्ट्रसेवक कर्मचारीलाई अपमान गर्दै आएकाले उनको लोकप्रियताको ग्राफ ह्वात्तै तल झर्न थालेको छ । राजनीतिक दलबाट निर्वाचित वडाध्यक्ष, स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूसँग बढेको दूरीलाई घटाउने प्रयास गर्न नसकेको वडाध्यक्षहरूले बताए ।
वडाध्यक्षहरूले लगाएको आरोपको खण्डन गर्न उनले सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत नै बोलाएका थिए । मूलधारका व्यावसायिक सञ्चारकर्मीलाई ‘पार्टीको झोले पत्रकार’ भन्न रुचाउने साम्पाङले वडाध्यक्ष र कार्यपालिका सदस्यहरूविरुद्ध आफ्नो विस्तृत भनाइ राख्न भने तिनै पत्रकारलाई बोलाए । प्रमुख साम्पाङले सञ्चारकर्मीसँग भने, ‘जनताको म्यान्डेटविपरीत र कानुन, अनुशासन उल्लंघन गर्दै बैठक निरन्तर बहिष्कार गर्ने सबै कार्यपालिका सदस्यहरूले सच्चिन आग्रह गर्छु, नसच्चिए राजीनामा दिए हुन्छ ।’ उनले कार्यपालिका सदस्यहरूले बैठकमा भाग नलिएर कर्तव्य पूरा नगरेको, अनुशासनहीन र लापरबाही गरेको आरोप लगाए । उनले निरन्तर बैठक बहिष्कार गरेर धराने जनताको आदेशअनुरूप वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले आचरण बिगारेको, विधिको शासन पनि नमानेको आरोप लगाए ।
राष्ट्रिय दलित आयोगले त साम्पाङलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । दलित समुदायको अपमान हुने गरी सामाजिक सञ्जालमा ‘चमारे बुद्धि’ शब्द राखेकामा आत्मालोचना पनि नगरेको भन्दै कानुनी कारबाही गर्न आयोगले सरकारलाई भनेको हो । तर, आयोगले कारबाहीको सिफारिस गरेलगत्तै उनी झन् आक्रामक रूपमा सामाजिक सञ्जालमा उत्रिएका छन् । दलित आयोगविरुद्ध आक्रोश पोख्दै कारबाही गर्न चुनौती मात्र दिएका छैनन्, उनले शनिबार लेखेका छन्, ‘कुनै झ्यासझुस आयोग–संयोगले मलाई जिताएको होइन, सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगरप्रमुख हुँ, उसको कारबाहीको माग त उस्स ।’
‘दलित शब्द नै हटाउनुपर्छ’ भनेर लेख्दै आएका साम्पाङले ‘जबसम्म दलित भन्ने शब्द र यसैलाई टेकेर बनाइएका आयोग, नियोग, संघसंस्था र पार्टी रहिरहन्छन्, दलित कोटा र त्यसमा खेलिने राजनीति रहिरहने’ र ‘राष्ट्रिय दलित आयोगले फोहोरी राजनीति गरेर समाज भाँड्न खोजेको’ समेत आरोप लगाएका छन् ।
दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रमुख साम्पाङको अभिव्यक्तिप्रति चासो राख्दै जनप्रतिनिधिको सम्मानस्वरूप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरिए पनि उल्टै दलित समुदायलाई अर्ती उपदेश दिने र संविधान, कानुनभन्दा आफूलाई माथि ठान्ने अभिव्यक्ति दिएपछि कारबाहीका लागि सिफारिस गरिएको बताए । ‘जनप्रतिनिधि भएकाले आयोगले सम्मानस्वरूप आत्मालोचना गर्न अपिल गर्‍यो तर अझै भन्न पाइन्छ, बोल्न पाइन्छ भन्ने खालको अभिव्यक्ति प्रमुख साम्पाङबाट आयो ।’ सरकारले मेयर साम्पाङलाई कारबाही नगरे जातीय भेदभाव गर्ने, अपमान गर्नेलाई संरक्षण गरेको ठहरिने भएकाले कारबाही हुनुपर्ने बताए ।

समाचार

कहाँ हराए गोपाल ?

- महेश केसी
मुसीकोट–१ मठका गोपाल खड्का वैशाख १६ देखि बेपत्ता

(रुकुम पश्चिम)
मुसीकोट नगरपालिका–१ मठका चिताराम खड्का सात महिनायता चिन्तामा छन् । हराएका २६ वर्षीय छोरा गोपालको अवस्था अज्ञात छ । चार वर्षदेखि भारतको देहरादूनस्थित अल्पाइन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी कलेजमा कृषि तथा बाली विज्ञान विषयमा स्नातक तह पढ्दै गरेका उनी घर आउने खबर गरेर निस्केका थिए । घर आइपुगेनन् । धेरैतिर खोज्दा पनि पत्ता लागेको छैन ।
चितारामका अनुसार गत वैशाख १६ मा गोपाल घर आउने भन्दै कलेजबाट हिँडेका थिए । सँगै पढ्ने साथी चेतनसँगै हरिद्वारसम्म आएको विवरण परिवारले पाएको छ । चेतनका अनुसार हरिद्वारबाट रुपैडिया आउने बस नपाएर छटपटिएका बेला उनीहरूको भेट गुल्मी घर बताउने एक नेपालीसँग भएको थियो । उनले दिएको जुस खाएपछि दुवै बेहोस भए । ब्युँझिँदा गोपाल र चेतन हरिद्वार सप्तऋषि चौकीमा थिए । उनीहरूका सामान लुटिएका थिए, लगाएका लुगा च्यातिएको थियो । गोपाल झोला खोज्छु भन्दै चौकी बाहिर निस्के, फर्किएनन् । उनी नफर्केपछि आफू सहयोग माग्दै देहरादून कलेज नै फर्किएको चेतन बताउँछन् ।
चेतनले हरिद्वारमा लुटिएको र आफू जसोतसो डेरामै फर्केको खबर गोपालको परिवारलाई दिएपछि चिताराम छोरा खोज्न नेपालगन्ज र रुपैडिया हुँदै हरिद्वारसम्म नै पुगे । उनले भने, ‘१८ दिन हरिद्वार र आसपास क्षेत्रमा भौतारियौं । छोरा हराएको पोस्टर बाँड्दै हिँड्यौं । केही सीप नलागेपछि रित्तो हात फर्कियौं ।’
साउनको पहिलो साता पनि चिताराम छोरा खोज्न दुई समूह बनाएर दोस्रो पटक भारत पुगे । तीन/तीन जनाको समूहमा बाँडिएर उनीहरूले दिल्ली, सिमला र हरिद्वारमा एक महिना खोजे । तर, केही पत्ता लागेन । तेस्रो चोटि पनि चिताराम अन्य चार आफन्तसहित हरिद्वार जिल्लाभर र देहरादून पुगे । तर यस पटक पनि उनले कुनै खबर पाएनन् । छोराको खोजीका लागि अहिलेसम्म करिब २३ लाख रुपैयाँ खर्च भएको बताउँदै चिताराम भन्छन्, ‘एकातिर छोराको पीर, अर्कोतिर ऋण भारले च्याप्यो ।’
घरमा गोपालको कोठामा उनका हँसिला तस्बिर छन् । उनले बजाउने गितार र केही थान किताबहरू छन् । गोपालका भाइ विजयले ती सब हेर्दा दाजुको न्यास्रो लाग्ने गरेको बताए । आमा बिरमालाई छोरा फर्किने आस छ । उनी भन्छिन्, ‘एक न एक दिन मेरो छोरो आमा भन्दै घर आउँछ भन्ने लागिरहन्छ ।’
रोजगारी र पढाइको सिलसिलामा भारत गएकाहरू उतै हराउने घटना भइरहने जिल्लाका लागि एउटा युवक बेपत्ता हुनु नौलो घटना होइन । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा मात्रै ८२ जना हराएका थिए । त्यसमा ५५ जना फेला परेका छन् भने २७ जनाको अवस्था अहिले अनि अज्ञात छ । त्यस्तै चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा २४ जना हराएकामध्ये १२ जना फेला परेका छन् । १२ जनाको खोजी जारी छ । गोपाल हराएको बारे जानकार रहेको बताएका डीएसपी विष्णुप्रसाद सोतीले भारतको घटना भएका कारण आफूहरूले वारि खोजी गरेर नहुने बताए । उनले भने, ‘मैले हरिद्वारको प्रहरीसँग खोजीका लागि अनुरोध गरेको छु ।’

समाचार

लिटरेचर फेस्टिभल पुस ६ देखि

गण्डकी (कास)– नेपाल लिटरेचर फेस्टिभलको दसौं संस्करण पुस ६ देखि ११ गतेसम्म पोखरामा हुने भएको छ । ‘शब्दशक्ति उत्सवको एक दशक’ नारासहित बुकवर्म फाउन्डेसनको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा फेस्टिभल हुन लागेको हो । यो संस्करणको फेस्टिभलमा ५४ वटा सत्र रहने आयोजकले पत्रकार सम्मेलन गर्दै जनाएका छन् ।
राजनीति, समाज, अर्थतन्त्र, साहित्य, खेलकुदलगायतका विधामा छलफल गरिनेछ । फेस्टिभलमा दुई सयभन्दा बढी साहित्यकर्मी, राजनीतिज्ञ, लेखकको उपस्थिति रहनेछ । यस पटकको फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणतिलका, पत्रकार लेखक अक्षक मुकुल, सुकेतु मेहता, करिम खान, श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय लेखक आउने फाउन्डेसनले जनाएको छ ।
फेस्टिभलमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, जनमत पार्टीका सीके राउतलगायत नेता पनि बहसका सत्रमा सहभागी हुनेछन् । पहिलो दिन शुभारम्भ साँझमा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहने तालिका छ । दोस्रो दिनमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक अर्थशास्त्री अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत्‌ प्रवचन दिने तालिका छ । फेस्टिभलमा नेताहरू ओली, थापा, राउतलगायत गैरराजनीतिक विषयमा गफिने छन् ।

Page 11
अर्थ वाणिज्य

कहिले खुल्लान् गोरखाका उत्तरी नाका ?

कोभिड जोखिमका बेला बन्द भएका नाका ३ वर्षयता ठप्प, खुलाउनमा सरकारी बेवास्ता
- हरिराम उप्रेती
खच्चडमार्फत उत्तरी गोरखामा दैनिक उपभोग्य सामग्री ढुवानी गरिँदै । फाइल तस्बिर: कान्तिपुर

(गोरखा)
कोभिड जोखिम बढेसँगै बन्द भएका गोरखाका उत्तरी दुई नाका अझै ठप्प छन् । अत्यावश्यक सामग्री खरिदका लागि चिनियाँको बजार पुग्ने गरेका स्थानीय नाका ठप्प हुँदा समस्यामा परेको गुनासो गरिरहेका छन् । गाउँ पुग्ने उच्च तहका सरकारी अधिकारी तथा जनप्रतिनिधिसँग उनीहरूले नाका खुलाइदिन पटकपटक माग गरे । गएको निर्वाचनअघि प्रचारका क्रममा चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारसमक्ष पनि स्थानीयले नाका खुलाउने पहल गरिदिन आग्रह गरेका थिए ।
स्थानीयको पटकपटकको मागअनुसार गाउँपालिका र प्रशासनले समेत नाका खोल्न बारम्बार उपल्लो निकायलाई पत्राचार गरिसकेका छन् । तर कोभिड जोखिमका बेला बन्द भएका नाका ३ वर्षयता ठप्प छन् । खुल्ने सुरसार छैन । अत्यधिक चिसो बढ्ने हिउँदको समयमा नाका खोल्न पर्याप्त पहल गरेर चैतपछि नाका खोल्ने वातावरण बनाए अत्यावश्यक सामग्री ढुवानी सहज बन्ने स्थानीय बताउँछन् ।
कोभिड जोखिम मत्थर भएसँगै चुमनुब्री–१ अन्तर्गतको नेपाल–चीनबीचको ३५ नम्बर सीमास्तम्भमा अवस्थित रुइला र चुमनुब्री–७ छेकम्पारको ङुइला नाका खुलाउन स्थानीयले माग राख्दै आएका छन् । नाका खोल्न यहाँका स्थानीय तिब्बतको बजार पुगेर चौंरी र घोडामार्फत उपभोग्य सामग्री ढुवानी गर्थे । अहिले स्थानीयलाई उपभोग्य सामग्रीका लागि गोरखाको तल्लो क्षेत्रका बजारको भर पर्नुपर्ने बाध्यता छ । कोभिड जोखिमअघिसम्म चीन सरकारले सामागाउँको रुइला नाका वर्षमा एक पटक र छेकम्पारको ङुइला नाका बाह्रै महिना खुला गर्थ्यो ।
नाका बन्द हुँदा कोरोनापछि तिब्बतको बजार जान नपाएको सामागाउँका छेवाङ लामा बताउँछन् । ‘कोरोनाको एक वर्ष सातवटा चौंरी लिएर तिब्बतबाट सामान ल्याएको थिएँ, त्यो सामानले एक वर्ष पुग्यो, त्यसपछि कोरोना भनेर नाका बन्द भएपछि तिब्बतको बजार जान पाएको छैन,’ उनले भने, ‘चीनतर्फ नाकासम्मै गाडी आउने सडक छ, आफ्नै चौंरी लिएर गएपछि ढुवानी भाडा सस्तो पर्छ ।’ नाका खुल्दा स्थानीयले चामल, नुन, तेल, कपडालगायत सामग्री तिब्बती बजारबाट ल्याउने गरेको उनले जनाए ।
‘नाका बन्द भएपछि अहिले गोरखाकै तल्लो बजार आरुघाटबाट सामान ल्याउँछौं,’ उनले भने, ‘आरुघाटबाट गाउँ आइपुग्न खच्चडलाई ५ दिन लाग्छ, तिब्बतको बजार भए एक/डेढ दिनमा आइन्थ्यो ।’ गोरखाको तल्लो बजारबाट सामागाउँलगायत सीमा क्षेत्रका गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी हुँदा लागत मूल्यको तेब्बर बढी ढुवानी तिर्नुपर्ने बाध्यतामा स्थानीय छन् । नाका खुलाउन कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । गृह मन्त्रालयबाट पराराष्ट्र मन्त्रालयमार्फत पहल भएको उनको भनाइ छ । ‘चीनसँग सीमा जोडिएका अन्यत्रका नाका पनि खुलेका छैनन्, हामीले बारम्बार पहल गरेका छौं,’ उनले भने, ‘अहिले पृुस–माघमा अत्यधिक चिसो हुन्छ, हिउँ पर्छ, ५ हजारभन्दा माथिको उचाइमा भएकाले नाका पार गर्न पनि गाह्रो हुन्छ,’ उनले भने, ‘अहिलेदेखि पहल गरेर चैत, वैशाखसम्म नाका खुल्थ्यो कि भन्ने तवरले लागेका छौं ।’

अर्थ वाणिज्य

२८ करोडका गुणस्तर परीक्षण भ्यान नचल्दै थोत्रिए

- राजु चौधरी

(काठमाडौं)
अनुगमनस्थलमै वस्तुको गुणस्तर परीक्षण गर्न सरकारले ल्याबोरेटरी भ्यान किने पनि सञ्चालनमा नआउँदै सामान ड्यामेज भएका छन् । राजमार्ग, नाका र बजार अनुगमनका क्रममा तत्काल नमुना परीक्षण र नतिजा दिन किनिएका चार वटा भ्यान ३ वर्षदेखि अलपत्र छन् । पछिल्लो समय विशेष अदालतले सञ्चालन गरेर प्रतिवेदन दिन भने पनि प्रभावकारी भएको छैन । करिब २८ करोड लागतमा किनिएका ४ वटा ल्याबोरेटरी भ्यानका टायर, ब्याट्री, ल्याबका सामान (किट) को म्यादसमेत सकिएको खाद्यका अधिकारीहरू बताउँछन् ।
‘सरकारले भ्यानका लागि ०७३/७४ मा बजेटमार्फत खरिद गर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दुई र खाद्य प्रविधि तथा गुण नियन्त्रणअन्तर्गत दुई गरी चार भ्यान किन्ने निर्णय भएको थियो । तर मोबाइल भ्यान प्रयोगशाला खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ असार ५ मा मुद्दा दायर गर्‍यो,’ खाद्य प्रविधिका एक अधिकारीले भने, ‘त्यसपछि अलपत्र परेको भ्यानका धेरै सामान ड्यामेज भएका छन् । पछिल्लो समय अदालतले फैसला सुनाए पनि भ्यान चलाउन सकिएन ।’
महालेखा परीक्षकले प्रधानमन्त्री कृषि परियोजना र खाद्य प्रविधिले प्रतिस्पर्धाबिनै खरिद प्रक्रिया अघि बढाएको भन्दै प्रश्न उठाएको थियो । आपूर्तिकर्ता कम्पनी उत्पादक तथा वितरक कम्पनीको एजेन्ट भएको प्रमाण नरहेको, सम्बन्धित देशको आपूर्तिकर्ताका नाममा प्रतीतपत्र खोलेको नदेखिएको अनि ०७४ मंसिर २४ मा आपूर्ति गर्ने सम्झौता भएकामा ०७५ फागुनसम्म पनि भ्यान प्राप्त भइनसकेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको थियो । सोही आधारमा खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियारले ०७६ असार ५ मा विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो । चार वटा भ्यानको मूल्य करिब २८ करोड थियो । अनुसन्धानका क्रममा प्रयोग हुने ‘वेल इक्विपमेन्ट ल्याबोरेटरी मोबाइल भ्यान’ खरिद गर्दा नियम कानुनलाई आफू अनुकूल प्रयोग गरी कमिसन खाई भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको थियो । अख्तियारले भ्यान सप्लाई गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका आधिकारिक प्रतिनिधि प्रवीण कुँवरलाई २४ करोड ८० लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो । त्यसपछि ल्याबोरेटरी भ्यान अलपत्र परेको हो । पछिल्लो समय विशेष अदालतले सफाइ दिइसकेको छ । ‘विशेष अदालतले गत वैशाखमा महानिर्देशक कर्णसहितको टोलीलाई सफाइ दिइसकेको छ । गाडी सरकारकै नाममा छ, जुन–जुन सामान छैनन् भनी मुद्दा पर्‍यो, ती सामान पनि आइसकेका रहेछन्,’ उपभोक्ताकर्मी तथा अधिवक्ता ज्योति बानियाँले भने, ‘अब गाडी चलाउन कुनै समस्या छैन । तर जानी–जानी चलाइएन ।’
विशेष अदालतले वैशाखमा सफाइ दिएसँगै खाद्यलाई पनि भ्यान चलाएर रिपोर्ट बुझाउन ३ महिनाको समय दिएको थियो । अदालतको पत्र असोजमै खाद्य प्रविधिमा पुगिसकेको छ । ल्याबोरेटरी भ्यान खरिदको मुख्य उद्देश्य जनचेतना थियो । राजमार्गमा अनुगमन गर्दा अनुगमनस्थलमै परीक्षण, किसानले उत्पादन गरेको दूध, नाकामा तरकारी, विषादी, तेल, सिमेन्टलगायत वस्तु तत्काल परीक्षण हुन सक्छ ।
मेसिनमा राख्नेबित्तिकै परीक्षण र नतिजा आउँछ । कारबाही र मुद्दाकै लागि पुनः परीक्षण गर्नुपरे पनि भ्यान प्रयोगशालाले मिसावट नभए/नभएको परीक्षण गर्न मिल्छ । तर अहिलेसम्म चल्न सकेको छैन । अदालतको फैसला भएपछि भ्यान चलाउन सकिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । तर भ्यान अस्तव्यस्त भएको र थप कसले बनाउने भन्नेमा अन्योल देखिएको उनको भनाइ छ ।
‘कम्पनीलाई १० प्रतिशत भुक्तानी गर्न बाँकी नै छ । धेरै समय यत्तिकै थन्किँदा केही टायर पनि मर्मत गर्नुपर्छ । किटको अवस्था पनि हेर्नुपर्छ,’ महर्जनले भने, ‘यी सबैको क्षतिपूर्ति कसले बेहोर्ने भन्ने विषय मुख्य हो । सरकारले कि कम्पनीले बेहोर्ने भन्नेमा अन्योल छ ।’

अर्थ वाणिज्य

कालीगण्डकीमा जलविद्युत् आयोजनाको लर्को

- घनश्याम खड्का

(म्याग्दी)
बेनी–जोमसोम सडक किनारामा पर्ने म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसासम्म ४० किमि खण्डमा बग्ने कालीगण्डकी नदीबाट कम्तीमा ५ वटा मझौलादेखि ठूला जलविद्युत् आयोजना निर्माण प्रक्रियामा छन् । उक्त खण्डमा कालीगण्डकीमा मिसिने मिस्त्रीखोला, रेलेखोला र घारघोलामा थप ६ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
अन्नपूर्ण गाउँपालिकामा बग्ने कालीगण्डकी नदीमा एक सय ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना बन्ने पक्का भएको छ । सरकारले हालै निजी लगानीमा निर्माण हुने १ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेसँगै म्याग्दीको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि समावेश भएको आयोजनाका अध्यक्षसमेत रहेका उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।
‘म्याग्दीमा निजी क्षेत्रको लगानी रहेको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको पीपीए हुन लागेको छ । छिट्टै आयोजना निर्माण सुरु हुँदै छ,’ म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभाका अवसरमा बेनी आएका महासंघ उपाध्यक्ष ढकालले भने, ‘म्याग्दीका व्यवसायीले पर्यटनसमेत कुनै क्षेत्रमा लगानीको प्रोजेक्ट बनाउनुहुन्छ भने म लगानी भित्र्याउन र साझेदार बन्न तयार छु ।’
व्यवसायी ढकाल नेतृत्वको हाइड्रो सपोर्ट प्रालिले ५३ मेगावाट क्षमतामा सर्भे अनुमति लिएको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको सर्भे डिजाइन संशोधन गरी एक सय ५० मेगावाट क्षमतामा पीपीए गर्न लागेको हो । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध बनाएर १ हजार ४ सय मिटर लामो सुरुङ मार्गबाट कालीगण्डकी नदीको पानी ल्याई अन्नपूर्ण–२ ठूलोबगरमा विद्युत् गृह बनाउने योजना छ ।
व्यवसायी ढकालसहितको समूहले अन्नपूर्ण गाउँपालिकामै कालीगण्डकीको सहायक मिस्त्रीखोलाबाट ४२ मेगावाट बिजुली उत्पादन गरेको छ । ३८ र ६५ मेगावाटका दुई वटा नीलगिरि खोला पहिलो र नीलगिरि खोला क्यास्केट आयोजना निर्माण पनि गरिरहेका छन् । कालीगण्डकी नदीमै अर्को जलविद्युत् आयोजना निर्माण हुने भएको छ । तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिले अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा बाँध बनाएर रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ नजिक विद्युत् गृह बनाई ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माण हुन लागेको हो ।
अन्नपूर्ण गाउँपालिकाअन्तर्गत नै पर्ने दाना र नारच्याङमा छुट्टै १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण हुने प्रस्ताव छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कालीगण्डकी गर्जमा चिनियाँ लगानी भित्र्याउने सम्झौता भएको हो । कालीगण्डकी गर्जका तर्फबाट हाइड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान र युनान सिन्ह्वा वाटर कन्जर्भेन्सी एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीबीच संयुक्त लगानी गर्ने गरी सम्झौता भएको थियो । सरकारले निजी लगानीमा निर्माण हुने १ हजार ५ सय मेगावाट विद्युत् खरिद सम्झौता गर्दा कालीगण्डकी गर्ज पनि समावेश हुने भनिएको छ ।
बेनी–जोमसोम सडकको दायाँ–बायाँ किनाराबाट बग्ने कालीगण्डकी नदीमै ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना प्रस्तावित छ । ट्रेडलिंक ग्लोबल प्रालिले निर्माण प्रस्ताव गरेको अपर जलविद्युत् आयोजना रघुगंगा गाउँपालिका–१ बेगखोलामा बाँध बनाई उक्त गाउँपालिकाको घुमाउने तालमा विद्युत् गृह बनाउने लक्ष्य छ ।
कालीगण्डकी नदीको म्याग्दी खण्डको सबैभन्दा पुछारमा बेनी कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न प्रस्तावित छ । विद्युत् विकास विभागले प्रस्ताव गरेको ५०.५३ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजनाले निर्माण गरेको हो । आयोजनाको ड्याम निर्माण स्थलको एलाइन्मेन्ट परिवर्तन स्थानीयले विरोध गरेपछि आयोजना रिभाइज चरणमा रहेको बताइएको छ ।
८ अर्ब ७२ करोड लागत अनुमान गरिएको बेनी कालीगण्डकी जलविद्युत् आयोजना बेनी नगरपालिका–६ सेतीपहिरोमा बाँध बनाई कालीगण्डकीको पानीलाई ३.५ किलोमिटर पर पर्वतको जलजला गाउँपालिका–४ सेराफाँटमा पावरहाउस बनाउने प्रस्ताव छ । ‘आयोजनाले उत्पादन थालेको मितिबाट वार्षिक प्रतिकिलोवाट एक सय रुपैयाँ र थप विद्युत् बिक्रीको रोयल्टी प्रतिघन्टा मूल्यको २ प्रतिशतका दरले वार्षिक २१ करोड ७८ लाखका दरले बेनी नगरपालिकालाई रोयल्टी दिने’ लिखित प्रस्ताव गरेको छ ।

Page 12
समाचार

पारमाणविक अनुसन्धान केन्द्रलाई भेटिएन जग्गा

- गोविन्द पोखरेल

(काठमाडौं)
पारमाणविक पदार्थको अध्ययन अनुसन्धानका लागि स्थापना गर्ने भनिएको केन्द्र निर्माणका लागि जग्गा खोज्नमै दुई वर्ष बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्र स्थापनका लागि पहल गरे पनि उपयुक्त जग्गा नहुँदा निर्माण सुरु हुन नसकेको हो ।
अध्ययनले हेटौंडा उपमहानगरपालिका उपयुक्त स्थान हुने देखाएपछि २० बिघा जमिन उपलब्ध भएको थियो । तर, महानगरले उपलब्ध गराएको जमिन राप्ती नदीको बगरमा परेकाले निर्माण कार्य अघि बढ्न सकेन । मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाकी उपसचिव शिला खतिवडाले केन्द्र सुरक्षित स्थानमा बनाउनुपर्ने भएकाले नदी किनारमा सम्भव नभएको बताइन् । हेटौंडाको रातो माटे, वनस्पति उद्यान र चारघरे क्षेत्रमा जग्गा खोजी भइरहेको छ । मन्त्रालयले जग्गा प्राप्तिका लागि उपमहानगर पुनः आग्रह गरेपछि गत असार ६ गते कार्यपालिका बैठकले वडा नम्बर १२ मा ६ बिघा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । केन्द्र निर्माण परियोजनालाई प्रायोरिटी–१ मा लैजान योजना आयोगमा पत्र लेख्ने मन्त्रालयले तयारी गरेको छ । ‘प्रायोरिटी वान प्रोजेक्ट (पी–१) हुँदा वन क्षेत्रको जमिन अधिग्रहण गर्न सजिलो हुन्छ,’ खतिवडाले भनिन् ।
चालु आर्थिक वर्षमा पनि मन्त्रालयले केन्द्र निर्माणका लागि तारबार र आईईका लागि करिब ५० लाख बजेट विनियोजन गरे पनि जग्गा उपलब्ध नहुँदा प्रक्रिया अगाडि नबढ्ने देखिएको छ ।
नेपालमा प्राकृतिक रूपमा उपलब्ध हुन सक्ने रेडियोधर्मी एवं पारमाणविक पदार्थको सम्बन्धमा विस्तृत अध्ययन, अनुसन्धान गर्ने उद्देश्यले रेडियोधर्मी उपयोग तथा नियमन ऐन २०७७ ले पारमाणविक अनुसन्धान केन्द्र स्थापनाको परिकल्पना गरेको छ । रेडियोधर्मी उपयोग तथा नियमन ऐनले रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधिसम्बन्धीको ज्ञान अभिवृद्धिका लागि दक्ष जनशक्तिको विकास, विभिन्न प्रकारका विकिरणको प्रभावबाट हुन सक्ने सम्भाव्य नकारात्मक प्रभावको नियन्त्रण सम्बन्धमा अध्ययन गरेर सरकारलाई सुझाव दिने उल्लेख छ ।
स्वास्थ्य, कृषि, पशु, उद्योग, पुरातात्त्विक वस्तुको संरक्षण, भूमिगत जलस्रोत एवं भौतिक पूर्वाधार विकास र खाद्य पदार्थको सुरक्षित भण्डारणका लागि पारमाणविक प्रविधि सम्बन्धमा केन्द्रले अध्ययन अनुसन्धान गर्ने विज्ञान सचिव प्रमिलादेवी बज्राचार्यले बताइन् । यस्तै, केन्द्रलाई नेपालमै रेडियो आइसोटप उत्पादन गर्ने र साइक्लोट्रोन प्रविधिको विकास गर्ने म्यान्डेट छ । केन्द्रले आन्तरिक तथा बाह्य कारणबाट मुलुकभित्र विकिरणका प्रभाव मूल्यांकन गर्दै त्यसको कारण तथा नियन्त्रण सम्बन्धमा अध्ययन समेत गर्न सक्ने व्यवस्था छ ।
गत वर्ष मन्त्रालयले केन्द्र स्थापनाका लागि फिजिबिलिटी अध्ययन गराएको थियो । परामर्शदाता कम्पनी ललितपुरको श्रेष्ठ–ग्रिड–डिफोर्ट जेभीले गरेको अध्ययनमा केन्द्रका लागि आवश्यक भवन निर्माण खर्च मात्रै १ अर्ब ७९ करोड ९३ लाख लाग्ने देखिएको छ । रेडियोधर्मी पदार्थको प्रयोग हुने भएकाले भवन पनि विकिरणजन्य जोखिमलाई ख्याल गरेर निर्माण गर्नुपर्ने हुन्छ । उपकरण खरिदमा मात्रै ८ अर्ब ५२ करोड ४५ लाख रुपैयाँ लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । भवन निर्माण र उपकरण खरिदमा कुल १० अर्ब ३२ करोड ३९ लाख लाग्ने अनुमान गरिएको हो । केन्द्र स्थापनापछि तलब भत्तामा १२ करोड ७६ लाख रुपैयाँ र अन्य खर्च गरेर वार्षिक रूपमा १८ करोड ८२ लाख ६४ हजार रुपैयाँ खर्च हुने उल्लेख छ । केन्द्रमा १ सय ७७ जना स्टाफ हुने अध्ययनमा प्रतिवेदनमा जनाइएको छ ।
पारमाणविक केन्द्रमा साइक्लोट्रोन र रेडियोआइसोटप डिभिजन, न्युक्लियर मेडिसिन तथा क्यान्सर थेरापी डिभिजन प्रस्ताव गरिएको छ । भौतिकशास्त्र, स्वास्थ्य, सुरक्षा र वातावरणीय, कृषि, बायाटेक्नोलोजी विभाग, एक्सिपेरिमेन्टल फिजिक्स र इलेक्ट्रोनिक्स डिभिजनलगायत विविध विभागको प्रस्ताव गरिएको छ ।
नेपालमा रेडियोधर्मी प्रदार्थको प्रयोग एक सय वर्षअगाडि पहिलो पटक सन् १९२३ मा त्रिचन्द्र मिलिटरी अस्पतालमा एक्सरे मेसिन जडानबाट गरिएको थियो । थापाथलीस्थित प्रसूति गृहमा सन् १९७६ मा रेडियोथेरापी सुरु गर्दै ‘रेडियम निडल’ को प्रयोग गरियो भने सिटिस्क्यान र न्युक्लियर मेडिसिनको सुरुवात सन् १९८८ मा वीर अस्पतालबाट भयो । सरकारले यसै वर्ष रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी मापदण्ड तयार गरेको छ । जसअनुसार रेडियोधर्मी उपकरणको प्रयोग, सञ्चालन, अनुगमन तथा गुणस्तर जाँच हुनुपर्ने उल्लेख छ । नेपालमा सबैभन्दा बढी रेडियोधर्मी उपकरण स्वास्थ्य क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

Page 13
खेलकुद

अन्डरडग्समै खुसी अर्जेन्टिना

दोहा (एएफपी)– डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग आइतबार विश्वकपको फाइनल खेल्ने तयारी गरिरहँदा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज आफ्नो टोली ‘अन्डरडग्स’ भएकोमै खुसी छन् । लुसेल रंगशालामा हुने फाइनलमा उत्रँदा अर्जेन्टिनासँग गत वर्षको कोपा अमेरिकाको सफलता अनुभव र लियोनेल मेसीको उत्कृष्ट लय हुने मार्टिनेज बताउँछन् ।
अर्जेन्टिनाले गत वर्ष रियो दी जेनेरियोको माराकाना रंगशालामा प्रमुख प्रतिद्वन्द्वी ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । उक्त सफलताको सम्झना र मेसीको उपस्थितिका कारण फ्रान्ससँग फाइनलमा डराउनुपर्ने कुनै कारण नरहेको मार्टिनेज बताउँछन् ।
‘ब्राजिलमा हामीले कोपा अमेरिका जित्दा सबैले ब्राजिललाई नै दाबेदार मानेका थिए,’ मार्टिनेजले शनिबार भने, ‘हामी जहिल्यै पनि प्रतिद्वन्द्वी टोली दाबेदार रहेको सुन्न मन पराउँछौं । किनभने त्यसले आफू नै सर्वोच्च हो वा उनीहरू कमजोर हो भन्ने मानसिकताबाट बाहिर राख्छ र अहिले पनि त्यही भइरहेको छ । धेरैले फ्रान्सलाई दाबेदार भनिरहेका छन् । तर, हामीसँग अहिलेसम्मकै उत्कृष्ट खेलाडी छन् ।’
फ्रान्ससँगको फाइनल खेल मेसीको विश्वकपमा अन्तिम खेलजस्तै हो, जसलाई उनी उपाधिले सुसज्जित गर्न चाहन्छन् । गत वर्ष कोपा अमेरिका जितेयता मेसीले आफ्नो खेललाई अर्को स्तरमा पुर्‍याएको मार्टिनेजको बुझाइ छ । ‘मैले कोपा अमेरिकामा महान् मेसीलाई देखें । अहिले विश्वकपमा मेसी त्योभन्दा उच्च लयमा छन्,’ मार्टिनेजले भने, ‘उनी शारीरिक हिसाब र फुटबलको हिसाबमा राम्रो खेलिरहेका छन् । कोपा अमेरिकाभन्दा उनले यहाँ झनै राम्रो खेलिरहेका छन् । यसले टोलीका सबै खेलाडीमा स्फुर्ति जगाएको छ । उनी आफैं पनि निकै उत्साहित छन् । उनी निकै आनन्दित छन् र यसले हामीलाई पनि राम्रो खेल्न मद्दत गर्छ ।’
मेसी र पेरिस सेन्ट जर्मेनबाट खेल्ने उनका सहपाठी फ्रान्सका फरवार्ड केलियन एमबाप्पेबीच नै फाइनल खेल केन्द्रित हुनेमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी सहमत देखिएनन् । ‘अब हुन लागेको खेल अर्जेन्टिनाविरुद्ध फ्रान्स हो, मेसीविरुद्ध एमबाप्पे होइन । यो खेल यी दुई खेलाडीभन्दा बाहिरको विषय हो,’ स्कालोनीले भने, ‘हाम्रो हतियार र हाम्रो शक्ति भनेको निश्चय नै हाम्रा खेलाडी हुन्, यी दुई खेलाडीमात्र होइनन् । मेसीले राम्रो गरिरहेका छन् र हामी जित्छौं भन्ने विश्वास छ । तर अर्जेन्टिना र फ्रान्सबीचको यस्तो खेल हुनेछ, जसलाई धेरै खेलाडीले परिभाषित गर्न सक्नेछन् । यो फाइनल खेल व्यक्तिगत टकरावभन्दा पनि संयुक्त प्रयासका लागि हुनेछ ।’
यता आर्सेन वेंगरले ३५ वर्षे मेसीलाई ‘आर्केस्ट्राका नेता’ भनेर प्रशंसा गरेका छन् । मेसीले आफ्नो गतिबाट विपक्षीलाई चोट पुर्‍याउने गरेको फिफा फुटबल डेभलपमेन्ट प्रमुख रहेका आर्सनलका पूर्व व्यवस्थापक वेंगरले बताए । ‘मेसी आर्केस्ट्राका प्रमुख हुन् । उनीको सामीप्यतामा बल आएपछि संगीत सुरु हुन्छ । आर्केस्ट्राका बाँकी सदस्य पनि कडा मिहिनेत गर्नलाई तयार छन् ।’

खेलकुद

क्रोएसियालाई ‘नचाहेको’ तेस्रो स्थान

दोहा (एएफपी)– मिस्लाभ ओर्सिचले कर्लिङ प्रहारमा विजयी गोल गरेपछि क्रोएसियाले शनिबार मोरक्कोलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । कतारमा एक स्टारमध्ये जस्को गभार्डिओलले दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसियालाई सातौं मिनेटमै अग्रता दिलाए ।
लगत्तै अचरफ दारीले लगत्तै मोरक्कोलाई बराबरीमा ल्याए । पहिलो हाफको अन्त्यतिर ओर्सिचले सानदार गोल गर्दै क्रोएसियालाई तेस्रो स्थान दिलाए । युरोपियन टोलीले विश्वकपमा तेस्रो स्थानको खेलमा विजय हात पारेको यो लगातार ११ औं पटक हो ।
यो खेलमा केवल २० लाख डलरका लागि प्रतिस्पर्धा थियो । त्यसैले धेरैले तेस्रो स्थानको प्लेअफ खेललाई ‘नचाहेको खेल’ भनेर लिने गरेका छन् । क्रोएसियाले तेस्रो हुँदै २ करोड ७० लाख डलर र मोरक्कोले २ करोड ५० हजार डलर पाए ।
विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोलीको इतिहास बनाएको मोरक्कोले कतार आएपछिको पहिलो खेलमा निकै कसिलो र फुर्तिलो खेल खेल्दै क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो । तर यसपालि मोरक्को टोली त्यस्तो देखिएन । मोरक्कोका गोलरक्षक यासिन कोनोउले खेलको सुरुआतमै झन्डै आफ्नो पोस्टमा गोल गर्न पुगेका थिए ।
सुरुदेखि नै खेलमा हाबी भएको क्रोएसियाले अग्रता लिन धेरै समय लगाएन । इभान पेरिसिचको सानदार फ्रिकिकमा लोभारो माजेरले गरेको हेडमा गभार्डिओलले हेडमै गोल गरेका थिए । त्यसको दुई मिनेट नबित्दै मोरक्कोका हकिम जिएचको फ्रिकिकमा माजेरको हेड हुँदै आएको बलमा दारीले क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचलाई कुनै अवसर दिएनन् ।
गत वर्ष फाइनल खेलेको क्रोएसियाले सन् १९९८ को विश्वकपमा पनि तेस्रो स्थान हात पारेको थियो । टोलीका कप्तान लुका मोड्रिचले विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका थिए । ३७ वर्षे उनको यो १ सय ६२ औं क्याप थियो ।
मोरक्कोले सेमिफाइनलसम्मको यात्रामा सनसनी मच्चाएको थियो । क्रोएसियासँगको पहिलो खेलपछि टोलीले बेल्जियमलाई २–० ले, क्यानडालाई २–१ ले पराजित
गर्दै समूह विजेता भएर नकआउट चरणमा स्थानमा बनाएको थियो । त्यसपछि अन्तिम १६ मा स्पेनसँग १ सय २० मिनेटको खेलमा गोलरहित बराबरीपछि पेनाल्टीमा ३–० को विजय नतिजा निकालेको थियो । पोर्चुगलविरुद्ध क्वाटरफाइनलमा १–० को जितपछि मोरक्कोले विश्वकपमा अफ्रिकी टोलीको इतिहास रचेको थियो ।