You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

खागले बर्बाद प्रजा परिवार

- तुफान न्यौपाने

(कोराक, चितवन)
नारायणगढ बजारबाट करिब २० किमि पूर्वमा पर्छ, खुरखुरे चोक । त्यहाँबाट उत्तरतर्फ गाडीमा करिब आधा घण्टा यात्रा गरेपछि समिटार पुगिन्छ । समिटारबाट कालोपत्र सडक सकिएपछि पश्चिम–उत्तरतर्फ अर्को करिब तीन किमि पर कालीखोला भेटिन्छ । साबिकको कोराक गाविस (हाल ः राप्ती नगरपालिका–१०) मा पर्ने कालीखोलाको पारिपट्टि एउटै आँगन भएका चार घर छन्, ती प्रजा परिवारका हुन् ।
सबैभन्दा दायाँपट्टि राजकुमार प्रजाको घर छ, बाँकी तीन उनका दाजुहरूको हो । गत पुस पहिलो साता राजकुमारको घर पुग्दा उनकी ३६ वर्षीया पत्नी मोतीमाया भर्खरै मकै गोडेर फर्किएकी थिइन् । ‘यो ऐलानी जग्गा हो, दुई बाली मकै लगाउँछौं, बर्खामा धान रोप्छौं तर त्यतिले वर्षभरि पनि खान पुग्दैन,’ मोतीमायाले भनिन् ।
राजकुमार तिनै व्यक्ति हुन्, जो ०६० देखि ०६७ का बीचमा चितवन राष्ट्रिय निकुञ्जभित्र कम्तीमा २१ वटा
गैंडा मारेर त्यसको सिङ (खाग) तस्करी गरेको अभियोगमा सजाय काटिरहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७१ माघ २५ मा काठमाडौं विमानस्थलबाट उनलाई पक्राउ गरेको थियो । उनको साथबाट भक्तराज गिरीको नाममा जारी भएको ०५५०२४०८ नम्बरको राहदानी, बोर्डिङ पास, विदेशी कामदारको सूचना भएको पत्र र नेपाली दूतावास क्वालालम्पुरबाट जारी एकतर्फी ट्राभल डकुमेन्ट बरामद भएको थियो । उनले गोरखा नगरपालिका–४ का कृष्णबहादुर गिरीको छोरा भन्दै भक्तराज गिरीको नाउँमा गोरखाबाट २०६७ जेठ १२ मा नागरिकता (नं.४४१००१/२७४९) लिएका थिए । त्यसैका आधारमा जेठ २० मा ४७२०४६४ नम्बरको राहदानी बनाएर उनी असोज २६ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए ।

मलेसियामै राहदानी हराएपछि २०६७ चैत ३ मा उनले त्यहाँको नेपाली दूतावासबाट ०५५०२४०८ नम्बरको राहदानी प्राप्त गरी क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तर–पश्चिमको वानतिङस्थित ‘हो कु इलेक्ट्रोनिक्स’ मा काम गर्दै आएका थिए ।
नेपाल प्रहरीले १० वर्षदेखि खोजिरहेका र इन्टरपोलले समेत रेडकर्नर नोटिस जारी गरेका उनलाई सीआईबीको आग्रहमा मलेसिया प्रहरीले २०७१ माघ १६ मा नक्कली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ गरी ९ दिनपछि नेपाल फर्काइदिएको थियो । पक्राउ पर्नबाट जोगिन भक्तराज गिरीको नामबाट नक्कली कागजात बनाएर मलेसिया पुगेका राजकुमारलाई नेपाल फर्काएपछि सुरुमा राष्ट्रिय निकुञ्जले हिरासतमा राखेको थियो । ०७२ को संविधान जारी हुनुअघि वन्यजन्तु अपराधका सबै मुद्दाको सुरुआती सुनुवाइ (ट्रायल) निकुञ्जले नै गर्थ्यो तर संविधानले एक वर्षभन्दा बढी कैद हुने कसुरमा सुरुवाती सुनुवाइ जिल्ला अदालतबाट मात्र गर्ने व्यवस्था गरेपछि प्रजाको मुद्दा अदालत पुग्यो । न्यायाधीश टेकनारायण कुँवरले ०७३ मा उनीसहित १० जनालाई १५ वर्ष कैद र एक जनालाई ७ वर्ष कैद हुने फैसला सुनाए ।
फैसलामा ‘गैंडा मार्ने योजना बनाउने, बन्दुक–गोलीगट्ठालगायत बन्दोबस्तीका सामान जुटाउने, निकुञ्जमा अवैध रूपमा प्रवेश गरी गैंडा मार्ने, खाग काट्ने, त्यसलाई उसिनेर बिक्रीका लागि तयार पार्ने, बिक्री गर्ने र प्राप्त रकम अन्य व्यक्तिलाई बाँड्ने गरी सुरुदेखि अन्त्यसम्मको आपराधिक कार्यमा प्रजाको प्रत्यक्ष संलग्नता रहेको’ उल्लेख छ । यही आरोपमा उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले निर्धारण गरेकोमध्ये अधिकतम सजाय तोकिएको थियो । उक्त ऐनमा ५ देखि १५ वर्षसम्म कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
फैसलामा प्रजालाई ‘गैंडाको चोरी सिकार एवं खागको बिक्री व्यवसायमा संलग्न कुख्यात तस्कर’ को रूपमा चित्रण गरिएको छ । उनलाई २१ वटा गैंडाको चोरी–सिकारमा संलग्न भनी फैसलामै किटान गरिए पनि उनले त्यति ठूलो संख्यामा गैंडा मारेको भने प्रमाणित भएको छैन । हालसम्म सात वटा मुद्दामा उनी दोषी पाइएका छन् । जसमध्ये तीन वटामा १५/१५ वर्ष कैद र एक/एक लाख जरिवाना, एउटामा १५ वर्ष कैद मात्र र तीन वटामा १०/१० वर्ष कैदको सजाय हुने फैसला भएको छ ।
चितवनको राप्ती–१० कालीखोलास्थित उनको परिवार भने वर्षौंदेखि चरम गरिबीमा पिल्सिएको र बाँच्नकै लागि रातदिन संघर्ष गरिरहेको छ । राजकुमार जेल परेपछि श्रीमती मोतीमायाको काँधमा वृद्ध सासूसँगै छोरा–बुहारी र तीनवर्षे नातिनीको जिम्मेवारी आइलागेको छ । किशोरावस्थामै रहेका छोरा–बुहारीको कुनै कमाइ छैन । १९ वर्षीय छोराको पढाइ १० कक्षापछि छुट्यो । बालखमै भित्र्याइएकी बुहारीको पढाइ पनि त्यत्तिकै रह्यो ।
‘जीवन चलाउनै गाह्रो छ, श्रीमान्लाई जेल हालेका छन्, मजदुरी गरेर पाँच जनाको परिवार पालिरहेकी छु,’ मोतीमायाले भनिन्, ‘एक पटक जेल बसेर छुटेका गाउँका केटाहरूलाई संस्थाले बाख्रा पालन र अरू कमाउने उद्यममा सहयोग गर्छन् तर जेलमै रहेको मानिसको परिवारलाई भने कसैले नहेर्ने रै’छ ।’ उनका अनुसार राजकुमार तीन वर्षदेखि वीरगन्ज कारागारमा छन् । पैसा नभएकै कारण उनले घरबाट करिब १३० किलोमिटर टाढा जेलमा रहेका श्रीमान्लाई भेट्न पाएकी छैनन् । तिहारमा जेलभित्रैबाट राजकुमारले फोन गरेयता कुराकानीसमेत हुन पाएको छैन । ‘कुरा गर्न त कत्ति मन लाग्छ नि,’ उनी भन्छिन्, ‘पैसा नभएर वकिल राख्न सकेनौं । निकुञ्जले जे/जे आरोप लगायो, त्यसैमा फैसला भयो ।’
प्रजालाई जेल पठाउने अदालतको फैसला केलाउँदा उनले
आफ्नो प्रतिरक्षाका लागि कोही पनि कानुन व्यवसायी राख्न नसकेको देखिन्छ । उनी दोषी ठहर भएका सातमध्ये केबल एउटा मुद्दामा मात्रै अदालतले नै नियुक्त गरिदिएका वैतनिक वकिल तीर्थराज पोखरेलले प्रजाका तर्फबाट बहस गरेका थिए । वकिल पोखरेलले अदालतको बहसमा प्रजाले सफाइ पाउनुपर्छ जिरह गरेनन् । ‘प्रजालाई लगाइएका सबै आरोप उनले स्वीकार गरेर अदालतलाई सहयोग गरेकाले न्यूनतम सजाय होस्’ भन्ने मात्र उनको माग थियो । पोखरेलको जिकिरमा अदालत सहमत भएन र उनलाई अधिकतम १५ वर्ष कैद गर्‍यो ।
त्यतिधेरै खाग तस्करी गरी मनग्य पैसा कमाएको आरोप लागेका प्रजाले आफ्नो कानुनी प्रतिरक्षाका लागि वकिल राख्नसमेत किन सकेनन् होला ? कतै उनी वन्यजन्तुका ठूला तस्करहरूले सामान्य रकम दिएर खटाएका भरिया मात्र त थिएनन् ? ‘अदालतमा के/के भयो, हामीले थाहै पाएनौं । कति वर्ष जेल बस्नुपर्ने हो ?, कहिले छुटेर आउने हुन् ? आएपछि फेरि अर्को मुद्दामा पक्रिने पो हो कि ? त्यो पनि थाहा छैन,’ मोतीमायाले भनिन् ।

परिवार नै बर्बाद
राजकुमार प्रजाको परिवार चितवनको शक्तिखोरबाट ४० को दसकमै कोराक सरेको हो । उनका साइँला दाजु रामकुमार पनि गैंडा चोरी–सिकारको आरोप लागेपछि फरार छन् । माइला दाजु बलबहादुर १२ वर्षे सजाय काट्दै छन् ।
गैंडा मारी खाग बेचेको भन्ने सुराकीको सूचनाका आधारमा निकुञ्जको चोरी प्रतिरोध एकाइको संयुक्त गस्ती टोलीले चितवनको साबिक सिद्धि गाविस–२ का सुमन बम्जनलाई ०६७ फागुन ११ मा पक्राउ गरेको थियो । उनले आफूसहित राजकुमार प्रजा, राजकुमारका दाइ बलबहादुर प्रजा, कान्छा भनिने राजकुमार प्रजा (उही नामका अर्कै व्यक्ति), रमेश तामाङ, शेरबहादुर चेपाङ, दिलबहादुर प्रजा र बमे भन्ने बलबहादुर प्रजा (राजकुमारको दाजु नभएर उही नामका अर्को व्यक्ति) लाई पोल गरे । त्यसका आधारमा निकुञ्जले राजकुमारका दाजु बलबहादुरलाई पक्राउ गर्‍यो । उनले अनुसन्धान अधिकृत र इजलाससमक्ष बयान गरे– ‘०६७ वैशाखमा मसमेत निकुञ्जभित्र गैंडा मार्न गएको र खाग बिक्रीपश्चात् सुमनलाई ५० हजार रुपैयाँ दिएको भनी उनले गरेको बयान झूटो हो । मैले उनलाई चिनेकै छैन । गैंडा मारेको र खाग बिक्री गरेको पनि छैन । किन मलाई पोल गरे थाहा छैन ।’
बम्जनको पोल कति कमजोर थियो भने उनले आफूसँगै ०६७ वैशाख ६ मा गैंडा मार्न र खाग निकाल्न सक्रिय रहेको भनी बयान दिएका ८ जनामध्ये बमे भनिने बलबहादुर प्रजा ०६० साउन १९ मा पक्राउ परी गैंडा मारेको अर्को मुद्दामा कास्की कारागारमा १५ वर्षको जेल सजाय भोगिरहेका थिए । फैसलाको उक्त मिसिल केलाउँदा निकुञ्जले बलबहादुर (राजकुमार प्रजाका माइला दाजु) विरुद्ध बम्जनको पोलबाहेक अन्य कुनै प्रमाण जुटाउन सकेको देखिँदैन । तर पनि चितवन राष्ट्रिय निकुञ्जले ०७२ असार १५ मा फैसला गर्‍यो– ‘बलबहादुर प्रजालाई गैंडा मारेको र खाग बिक्री गरेको अभियोगमा १२ वर्ष कैद हुन्छ ।’
०७४ साउनमा उच्च अदालत हेटौंडाले पनि निकुञ्जको फैसलालाई सदर गर्‍यो । ०७१ माघमा पक्राउ परेका बलबहादुर त्यसयता भरतपुर कारागारमा १२ वर्षे कैद सजाय भुक्तान गर्दै छन् । बलबहादुर जेल परेपछि उनकी श्रीमतीले दोस्रो बिहे गरिन् । ६ कक्षा पढ्दै गरेका छोरा आशिषको पढाइ छुट्यो । केही समयपछि आशिषले स्कुल पढ्दाकी सहपाठी कल्पनालाई बिहे गरे । आशिष–कल्पना सानी छोरीका बाउ–आमा बनेका छन् । ‘हामीजस्ता गरिबले धेरै पढ्न पाइने रहेनछ । बाँच्नै मुस्किल भएको छ,’ बलबहादुरकी बुहारी कल्पनाले भनिन्, ‘मेरो बिहेअघिदेखि नै ससुरा जेलमा हुनुहुन्छ । एक्लै घर चलाउन गाह्रो भएर सासूले अर्को बिहे गर्नुभएछ । ससुरा जेलमा कसरी बस्नुभएको छ, थाहा छैन ।’
राजकुमारका जेठा दाजु बलबहादुर गैंडाको खागकै चोरी–सिकारमा संलग्न भएको आरोपमा सात वर्ष जेल बसेपछि निर्दोष साबित भएर छुटेका छन् । उनी वैदेशिक रोजगारीमा साउदी अरब गएर फर्किएका थिए । ०६७ सालको साउन २ मा फेरि साउदी उड्ने तालिका थियो । त्यसअघि असार १४ मा उनी कोराक–९ चिप्लेटी बस्ने ससुरा बिजराम प्रजाको घरमा चर्पी बनाइदिन गए । दलबहादुरका साला काजीमानले बा बिजरामको घरसँगै जोडेर नयाँ घर बनाउँदै थिए । नयाँ घर बनाउन थालेको खुसियालीमा भोज खान उनले दिदी लीलाकुमारी र भिनाजु दलबहादुरलाई पनि बोलाए । खाँदै गर्दा निकुञ्जबाट खटिएका सुरक्षाकर्मीले घर घेरे । काजीमान फुत्किए । दलबहादुर र उनकी श्रीमती लीलासहित जितबहादुर पुन, शक्ति प्रजा, बुद्धिबहादुर प्रजा, दुर्गाबहादुर तामाङ, महेन्द्र गुरुङ, काजीमानकी श्रीमती दिलमायालगायत पक्राउ परे ।
त्यसको दुई साताअघि ०६७ जेठ २८ मा डुमरिया पोस्टदेखि दक्षिणतर्फ गौरमचान नजिक बाँस खोलादेखि करिब २०० मिटर पश्चिम चुरेको घाँच सालघारीमा २० वर्षको भाले गैंडा खाग झिकिएको अवस्थामा मृत भेटिएको थियो । सुराकीका आधारमा सुरक्षाकर्मीले उक्त गैंडालाई जितबहादुर पुन र काजीमानको समूहले मारेको निष्कर्ष निकाले । त्यसैले काजीमानको घरमा छापा हानिएको थियो । काजीमान भागे पनि उनकी श्रीमती दिलमाया, दिदी लीला, भिनाजु दलबहादुर, घर बनाउने मजदुरहरू तामाङ, गुरुङलगायत पक्राउ परे । पछि सुरक्षाकर्मीले पक्राउ परेका व्यक्तिसहित राजकुमार र काजीमानलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गर्‍यो । एक महिना हिरासतमा रहेकी लीला निकुञ्जले बोलाएको समयमा हाजिर हुने सर्तमा रिहा भइन् ।
०७० जेठ २९ मा निकुञ्जले फैसला गर्दा करिब तीन वर्ष जेल बसिसकेका दलबहादुर निर्दोष ठहरिए । नेपाल सरकारको पुनरावेदन परेपछि तत्कालीन पुनरावेदन अदालत हेटौंडाले ०७१ माघमा निर्दोष ठहर्‍याएको थियो । (पछि ०७३ चैतमा सर्वोच्च अदालतले पनि उनलाई निर्दोष रहेको ठहर गर्‍यो ।) तर, उनलाई अर्को मुद्दाका प्रतिवादीले पोल गरेको भन्दै तत्कालै पक्राउ गरी निकुञ्जले फेरि १० वर्ष कैद हुने फैसला गर्‍यो । त्यसविरुद्ध उनले उच्च अदालत हेटौंडामा पुनरावेदन गरेकोमा ०७४ को फागुनमा सफाइ पाए । त्यतिन्जेल उनी ०६७ मा पक्राउ परेको मितिबाट सात वर्ष कैद बसिसकेका थिए ।
दलबहादुरका साला काजीमान पछि पक्राउ परे । उनलाई निकुञ्जले ०७० जेठ २९ मा १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनायो । उनकी श्रीमती दिलमायालाई १० वर्षको कैद र ७५ हजार जरिवाना हुने निकुञ्जको फैसलालाई हेटौंडा उच्च अदालतले ०७१ माघ २७ मा पाँच वर्ष कैद र ५० हजार रुपैयाँमा झारिदियो । काजीमानले पुनरावेदनसमेत नगरी अहिलेसम्म निकुञ्जले तोकेको कैद भुक्तान गरिरहेका छन् ।
‘विदेश जान ठिक्क परेको मानिसलाई त्यसै पक्रेर सात वर्ष जेल हालेपछि परिवारको अवस्था चौपट भयो । मलाई पनि एक महिना थुनेर तारेखमा छाडे,’ लीलाकुमारी भन्छिन्, ‘काजीमान भाइ १५ वर्षका लागि जेलमा छन् । भाइ–बुहारी दिलमाया पनि पाँच वर्ष जेल बसेर छुटिन् । हाम्रो परिवार नै तहसनहस भयो ।’
दलबहादुर जेलमै रहेका बखत उनका कान्छो छोरा ओमप्रकाश बिरामी परे । १० कक्षामा पढ्दै गरेका छोरा सिकिस्त भएपछि लीलाले उपचार गराउन सकिनन् । ०७० असोज ५ मा ओमप्रकाश बिते । ‘छोरो उपचार नपाएरै बित्यो । म एक्लैले केही गर्न सकिनँ,’ लीलाले भनिन्, ‘वकिलले एक पटक बहस गरेको कम्तीमा १५ हजार लिन्थे । बाख्रा बेचेर बल्लतल्ल ५–७ हजार जुटाउँथें । त्यति पैसाले कसरी पुर्‍याउनु ? कहिलेसम्म पुर्‍याउनु ? यहाँबाट हेटौंडा कसरी जानु ? के खानु ? वकिललाई के तिर्नु ? उपचार कसरी गराउनु ? त्यो बेला लिएको ऋण अझै छ ।’
जेल पर्नुअघि वैदेशिक रोजगारीमा गएका दलबहादुर दुई छोरा र एक छोरीलाई पढाउँदै थिए । तर, जेल परेपछि परिवारको आम्दानी ठप्प भयो । सन्तानको पढाइ छुट्यो । छोरीले विवाह गरिन्, जेठो छोरो कुनै काम नगरी हल्लिएर हिँड्छन्, कान्छाको जीवन नै गुम्यो ।

ॅशत्रुलाई पनि यस्तो नहोस्’
वन्यजन्तु अपराधमा नेपालको कानुन अन्य दक्षिण एसियाली देशहरूको भन्दा कडा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार पाँचदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ । यस्तो कडा कानुनी व्यवस्थाको चर्को मूल्य स्थानीय आदिवासी समुदायले कसरी चुकाइरहेका छन् भन्ने उदाहरण राजकुमार–मोतीमायाको परिवार नै हो । मोतीमायाका श्रीमान् र जेठाजुहरू सबै वन्यजन्तु अपराधसम्बन्धी कडा कानुनको फन्दामा छन् । यसबाट उनको माइती पनि प्रभावित छ ।
मोतीमायाका भाइ वीरबल १५ वर्ष जेल बसेर रिहा भएका हुन् । ०६२ साउन ७ मा पक्राउ पर्दा वीरबल २५ वर्षका थिए । चार छोरा र श्रीमतीसहितको परिवार पाल्न खेती किसानी गर्थे । निकुञ्जमा गैंडा सिकार गर्न जाने समूहलाई बन्दोबस्तीका सामान पुर्‍याउन आफूले सहयोग गरेको उनी स्विकार्छन् । उनले अदालतलाई दिएको बयानमा पनि दुई हजार रुपैयाँ पाउने गरी सिकारीका लागि चाउचाउ, दालमोठ र खाना पकाउने भाँडा बोकेर जंगल गएको तर गैंडा मार्ने र खाग बिक्रीमा संलग्न नरहेको तथा त्यसबापत कुनै लाभ पनि नलिएको बताएका छन् । त्यति गरेका उनलाई १५ वर्ष कैद हुने फैसला भयो । युवा उमेर जेलमै बिताएका उनी सजाय काटेर फर्किँदा परिवार तहसनहस भइसकेको थियो । श्रीमतीले अर्को विवाह गरेकी थिइन् । छोराहरू पढाइ छाडेर बरालिएका थिए । घर नामको सानो छाप्रोको नामोनिसान थिएन ।
‘चेपाङले गैंडा मार्‍यो भन्छ, समात्छ, थुन्छ । संकटकालमा पक्राउ परेकाले राम्ररी अनुसन्धान भएन । पाता फर्काएर पिट्थ्यो, सहन नसकेर कबुल गरिन्थ्यो । बाध्यताले कसैको नाम लिइयो भने उनीहरूलाई पनि पक्रन्थ्यो । यस्तो क्रम लामो समय चल्यो,’ वीरबल भन्छन्, ‘धेरैको घर बिग्रियो, परिवार रहेन, बच्चाको पढाइ छुट्यो । कति उपचार नपाएर मरे ।’
कुनै समय कोराकका धेरै युवा जेलमा थिए । ऊर्जाशील उमेर जेलमै गुमाएका उनीहरू बिस्तारै छुट्दै छन् । वीरबहादुर प्रजा, वीरबल प्रजा, चन्द्रबहादुर प्रजा, मंगलबहादुर प्रजा, दलबहादुर प्रजा, जितबहादुर तामाङ, जितबहादुर बल, दुर्गा रुम्बा, रामचन्द्र प्रजालगायत छुटेका छन् । गाउँका राजकुमार प्रजा, काजीमान प्रजा, रमेश लामा, बलबहादुर प्रजा, शेरबहादुर प्रजा, वीरबहादुर प्रजा, पदमबहादुर प्रजा, जीतबहादुर तामाङ, चन्द्रबहादुर प्रजा, धनलाल प्रजा, दिलमान प्रजा, सहकारी प्रजा, सुकबहादुर प्रजा, देवबहादुर प्रजालगायत कारागारमै छन् ।
‘जेल परेकाका परिवार सडकमा पुगेका छन् । कतिका बच्चा दुर्व्यसनमा फसेका छन्, कतिका श्रीमती छैनन् । राजकुमारले त्यत्रा गैंडा मारेर खाग बेचेको हो भने अहिले उसको आर्थिक अवस्था बलियो हुनुपर्ने हैन र ? उसकी श्रीमती मेरी बहिनी हुन् । नुन तेल मागेर खानुपरेको छ । म जाबो भरियालाई १५ वर्ष जेलमा कोच्यो । छुटेर आउँदा घरपरिवारको हालत देखेर क्वाँ क्वाँ रोएको थिएँ,’ वीरबल भन्छन्, ‘पाँच सय–हजार पाउने आसमा भरिया बनेको मानिसलाई सुध्रने मौकै नदिई त्यत्रो वर्ष थुनेर राज्यले के पायो त ?’
जेलमा पाउने सिदाबापतको दैनिक ४५ रुपैयाँसमेत बचाएर घर पठाउने गरेका वीरबल १५ वर्षे जेल बसाइँपछि घर फर्किंदा परिवार नै थिएन । भन्छन्, ‘भाग्यमा यस्तै रहेछ । जेल कट्यो, जीवन पनि कट्यो । शत्रुलाई पनि यस्तो नहोस् ।’
नेपालमा वन्यजन्तु अपराधमा मुछिनेहरू अधिकांश गरिब रहेको र उनीहरूले त्यसको चर्को मूल्य चुकाउनु परिरहेको अधिवक्ता राजु चापागाईं बताउँछन् । ‘निकुञ्ज आसपासका आदिवासी समुदायको गरिबीको फाइदा उठाउँदै संगठित तस्करहरूले संरक्षित वन्यजन्तुको सिकार र अंग ओसारपोसारका लागि भरियाका रूपमा प्रयोग गरेका छन्,’ उनी भन्छन्, ‘वास्तविक अपराधीले उन्मुक्ति पाइरहने यो प्रवृत्तिले नेपालको फौजदारी न्याय प्रणालीलाई गरिबीको कोणबाट समीक्षा गर्नुपर्ने ठाउँमा ल्याइपुर्‍याएको छ ।’

को–को छन् जेलमा ?
वन्यजन्तु अपराधमा मुछिएर जेल परेकाहरू को होलान् ? अनुसन्धाता कुमार पौडेलसहित तीन जनाले सन् २०१९ को नोभेम्बरमा एक जर्नलमा प्रकाशित गरेको आलेखमा यो प्रश्नको रोचक जवाफ भेटिन्छ । ३८४ जना कैदीसँगको कुराकानीमा आधारित उक्त आलेखमा जेलपरेकामध्ये ६१ प्रतिशत गैंडाको सिकार र खाग ओसारपोसारको आरोप लागेकाहरू थिए । जसमध्ये आधाभन्दा बढी (५६ प्रतिशत) गरिब थिए, एक तिहाइ (३२ प्रतिशत) निरक्षर थिए, ७५ प्रतिशत ऐतिहासिक रूपमै बहिष्करणमा पारिएका सीमान्तकृत आदिवासी समुदायका थिए । जबकि नेपालको जनसंख्यामा आदिवासी समुदायको हिस्सा एक तिहाइभन्दा कम छ । वन्यजन्तु अपराधमा जेल परेका बहुसंख्यक व्यक्तिले प्रतिनिधित्व गर्ने यस्तो विशिष्ट समूह (गरिब, निरक्षर, आदिवासी) ले वन्यजन्तु अपराधसम्बन्धी नेपालको कडा कानुनको असामन प्रयोगलाई प्रस्ट पारेको छ । जेल परेकामध्ये ६९.८ प्रतिशतले आफूलाई सम्भावित सजायबारे पहिले थाहा नभएको बताएका छन् ।
नेपालका ७४ कारागारमध्ये ३८ वटामा वन्यजन्तु अपराधसँग जोडिएका कैदी पनि छन् । अधिकांश कारागारमा यो अपराधमा मुछिएका व्यक्तिहरूको हिस्सा थोरै (०.१ देखि ३.३ प्रतिशतसम्म) छ । तर, चितवन कारागारमा २१.१, बर्दियामा ९.६ र रसुवामा ६.४ प्रतिशत कैदी वन्यजन्तु अपराधका छन् । उक्त आलेखअनुसार उनीहरूमध्ये अधिकांशले आफू जेल परेपछि ‘बच्चाको पढाइ छुटेको, श्रीमतीसँग सम्बन्धविच्छेद, परिवारले पुर्ख्यौली सम्पत्ति बेच्नुपरेको, सामाजिक प्रतिष्ठा गुमेको, परिवारका सदस्यले धर्म परिवर्तन गर्नुपरेको तथा छोराछोरीको बिहे हुन नसकेको’ जस्ता समस्या औंल्याएका छन् । तीमध्ये एकले आफू जेल परेपछि परिवारका एकजनाले आत्महत्या गरेको उल्लेख गरेका छन् ।
‘संसदीय समिति वा राष्ट्रिय मानवअधिकार आयोगले यसबारे राष्ट्रिय इन्क्वायरी गर्नुपर्ने आवश्यकता देखिन्छ,’ अधिवक्ता चापागाईं भन्छन्, ‘आवश्यक परेछ भने कानुनमै परिवर्तन गर्नुपर्ने हुन सक्छ ।’ वन्यजन्तु अपराधसँग सम्बन्धित चितवन जिल्ला अदालतका ३० वटा फैसला केलाउँदा निकुञ्ज नजिकका आदिवासीलाई वन्यजन्तुको चोरी सिकारमा संलग्न भएको आरोपमा अभियोजन भएको छ र अधिकांश मुद्दामा अधिकतम सजाय दिइएको छ ।
प्रहरीले घरबाटै २० वटा बाघका दाह्रा बरामद गरेको काठमाडौंका लोडु डिमे निष्फिक्री घुमिरहेका छन् । पत्रकारको आवरणमा रहेर नेपालमा दुर्लभ वन्यजन्तुको अंग संकलन गर्दै आएका अमेरिकी नागरिक इयान बेकर कानुनको पन्जा बाहिरै छन् । १६ वर्ष पहिले नेपाल–चीन सीमाक्षेत्रमा भएको अहिलेसम्मकै ठूलो अप्रेसनमा मुछिएका निटुप लामा पनि अहिलेसम्म उम्किएका छन् । संविधानले नै हरेक व्यक्तिलाई आफूमाथि लागेको अभियोगमा रोजेको कानुन व्यवसायीमार्फत अदालतमा प्रतिरक्षा गर्न पाउने अधिकार दिएको छ । तर, राजकुमार प्रजा र उनको परिवार जस्तै अधिकांशले आर्थिक अभावका कारण कानुन व्यवसायीमार्फत प्रतिरक्षा गर्न सकेका छैनन् ।

मुख्य पृष्ठ

सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कर्तव्य ज्यान मुद्दाका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । मौखिक आदेश हुँदा पनि पक्राउ नपरेकामा गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन शुक्रबार निर्देशन दिइएको हो । एमालेबाट निर्वाचित प्रतिनिधिसभा सांसद कोइरीविरुद्ध प्रेमबहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटकपटक मौखिक निर्देशन भएकामा हालसम्म पक्राउ नपरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा छ ।

महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता उनी फरारको सूचीमा छन् ।
प्रतिनिधिसभा सदस्यको शपथग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेका कोइरीलाई संसद्को कामकारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो । प्रहरीको पत्रपछि पनि कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन बैठकमा सहभागी भएका थिए । यसअघि सांसद कोइरी संसद्‍ बैठकमा उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै कांग्रेस सांसदहरूले प्रश्न उठाएका थिए ।

मुख्य पृष्ठ

ती पाइलट, जो जहाज दुर्घटनामै बिलाए

- सुरज कुँवर,विद्या राई

(काठमाडौं)
नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना हुनुअघि हवाई विभागसँग एउटा मात्रै ट्वीनअटर विमान थियो । त्यही पनि राष्ट्रसंघले खाद्यान्न ओसार्न दिएको । खाद्य संस्थानका लागि कार्गो उडान गर्ने त्यो विमान उडाउन ८ जना पाइलट थिए । तिनले कार्गो उडानबाहेक विमान जाँच र निरीक्षण पनि गर्थे ।
प्राधिकरणबाट अवकाशप्राप्त एक उपमहानिर्देशकका अनुसार तीमध्ये ५ जनाको विभिन्न हवाई दुर्घटनामा निधन भयो । प्राधिकरणका वरिष्ठ पाइलट शिव श्रेष्ठ (५ भदौ २०५५ म्याग्दी), प्रकाश श्रीवास्तव (१२ जेठ २०६१ लामजुरा, सोलुखुम्बु), प्रभुशरण पाठक (१ जेठ २०६९ जोमसोम), प्रभाकर घिमिरे तथा वसन्त लामा (१५ जेठ २०७९, घासा मुस्ताङ) ले ज्यान गुमाए । बाँकी तीन जना यती एयरलाइन्स, प्राधिकरण र नेपाल वायुसेवा निगममा छन् । निगमका एमबी तुम्बाहाम्फे मात्रै हाल सक्रिय उडानमा छन् ।
प्राधिकरणका अनुसार २०१२ सालमा सिमरामा भएको भारतीय विमान दुर्घटनादेखि आइतबार पोखरामा भएको यतीको जहाज दुर्घटनासम्म आइपुग्दा नेपालमा १०५ हवाई दुर्घटना भएका छन्, ९१९ जनाको मृत्यु भएको छ । प्राधिकरणले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनअनुसार ६८ वर्षयता नेपालमा सुगम तथा दुर्गम रुटमा हुने (फिक्स्ड विङ) तर्फका व्यावसायिक उडानमा ५०, हेलिकोप्टर चार्टरमा ३६, विदेशी वायुसेवा १० र एकल इन्जिन भएका विमानमा ८ गरी १०५ वटा हवाई घटना तथा दुर्घटना भइसकेका छन् ।
तीन दशकदेखि जहाज उडाइरहेका केही वरिष्ठ पाइलटका अनुसार व्यावसायिक उडानका ५०, हेलिकोप्टरका १० र एकल इन्जिनका ८ गरी झन्डै ७० पाइलटले ज्यान गुमाएका छन् । यीमध्ये व्यावसायिक उडानका मात्रै कम्तीमा १० वरिष्ठ प्रशिक्षक पाइलटको मृत्यु भएको छ ।
२०१७ कात्तिकमा भैरहवामा निगमको जहाज दुर्घटना हुँदा बीके श्रेष्ठ, काठमाडौंबाट सिमराका लागि उडेको निगमको जहाज हेटौंडामा २०२६ असारमा दुर्घटना हुँदा क्याप्टेन राम गुरुङले ज्यान गुमाएका थिए भने निगमकै विमान २०५१ पुस ३० गते बौद्धमा दुर्घटना हुँदा रामसिंह गुरुङको पनि मृत्यु भयो । बझाङबाट फर्किंदै गर्दा २०५७ साउन १२ गते डडेलधुरा जोगबुढाको दुर्घटनामा वाङदी लामा, २०५९ साउनमा जुम्लाबाट फर्किंदै गरेको स्काइलाइन एयरलाइन्सको विमानमा क्याप्टेन विजय गिरी, त्यही वर्ष जोमसोमबाट पोखरा आउँदै गर्दा क्याप्टेन विपिन मिश्र, २०६३ जेठमा जुम्लामा भएको दुर्घटनामा प्रशिक्षक पाइलट किरण मल्लले ज्यान गुमाए । २०६७ भदौमा लुक्लामा अवतरण हुन नसकेर फर्किंदा हेटौंडामा दुर्घटना हुँदा अग्नि एयरका प्रशिक्षक पाइलट लक्की शाह, २०७० फागुनमा अर्घाखाँचीको मसिनेलेकमा निगमको जहाज दुर्घटनामा क्याप्टेन शंकर श्रेष्ठ, २०७२ फागुनमा म्याग्दीको दानामा यतीको जहाज दुर्घटनामा प्रशिक्षक पाइलट रोशन मानन्धर रहेनन् । यिनीहरू नेपालका उड्डयनकर्मीले अत्यधिक सम्झिइरहने पाइलट हुन् ।
यी प्रशिक्षक पाइलटले उडाएको जहाज दुर्घटनामा कसरी पर्‍यो होला भनेर अहिले पनि नेपाली उड्डयनकर्मी भेला हुँदा आश्चर्य मानिरहन्छन् । किनभने यी अधिकांशले को–पाइलटबाट क्याप्टेन र क्याप्टेनबाट प्रशिक्षक पाइलट बनाएका थुप्रै पाइलट अहिले नेपालको सबैभन्दा ठूलो एयरबस वाइडबडी विमान उडाउनेसम्म भइसकेका छन् । नेपालको लाइसेन्स भएका कम्तीमा एक दर्जन पाइलट विदेशी वायुसेवामा छन् । यसै सूचीमा यस पटक पोखरामा चालकदलसहित ७१ यात्रुको निधन र एक जना बेपत्ता भएको यतीको एटीआर दुर्घटनाका प्रशिक्षक पाइलट कमल केसी परेको घटनाले वायुसेवाकर्मीलाई झट्का दिएको छ । किनभने यो एटीआर हालसम्मै दुर्घटनामा परेको सबैभन्दा आधुनिक विमान थियो ।
भूगोल र जटिलताका आधारमा विमानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । ८ हजार फिटमाथि उचाइमा रहेका हिमाली र रनवेको एकतर्फबाट मात्रै जहाज अवतरण गर्न सकिनेलाई ‘सी’, ८ हजार फिट उचाइमुनि ५ हजार फिटमाथिका विमानस्थल र रनवेको दुईतर्फबाट अवतरण गर्न सकिने विमानस्थललाई ‘बी’ र ५ हजार फिटमुनि उचाइ भएका रनवेको दुवैतर्फबाट अवतरण गर्न सकिने विमानस्थललाई ‘ए’ अर्थात् सजिलोको सूचीमा राखिएको छ । नेपालमा अहिले ‘सी’ र ‘बी’ श्रेणीको विमानस्थलका लागि काबिल मानिएका प्रशिक्षक पाइलट र क्याप्टेन उत्पादन सुस्त छ । यी दुई वर्गका विमानस्थलमा साना जहाज मात्रै उड्छन् । यिनमा हेरेर उडान गर्नमात्रै सम्भव हुन्छ । प्रशिक्षक पाइलट र क्याप्टेन अभाव देखिनुमा पर्याप्त जहाज तथा उडान नहुनुलाई व्यवसायीहरू मुख्य कारण भन्छन् ।
नेपालका पाइलटहरूको नियमन गर्ने निकाय
फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागका अनुसार हाल हेलिकोप्टरतर्फ ३१ र फिक्स्ड–विङ (जहाज) मा ४ सय १३ गरी ४ सय ४४ पाइलट उडानमा छन् । हेलिकोप्टरबाहेक जहाजका सबै पाइलटले ६/६ महिनामा आ–आफ्ना कम्पनीको जहाजका प्रकार र ती जहाजबारे तालिम दिने विदेशका तालिम केन्द्र अनिवार्य जानैपर्छ । यसरी जाँदा एक पटकमा एक जनाको ६ लाख रुपैयाँ खर्च हुन्छ । ४ सय १३ जनाको हिसाब गर्दा हरेक वर्ष कम्तीमा ५० करोड रुपैयाँ विदेशिन्छ ।
दुर्घटनामा हुने वायुयानको क्षति बिमामार्फत कम्तीमा ७५ प्रतिशत कम्पनीले प्राप्त गर्ने भए पनि समाजले बेहोरिरहेको क्षति अपूरणीय छ । योसँगै नागरिक उड्डयन क्षेत्रले पाइलट जस्तो दक्ष जनशक्तिको अभाव खेप्नुपरेको छ । उड्डयन व्यवसायीका अनुसार कुनै पनि हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको २० हजार डलर बराबरको बिमा अनिवार्य हुने भए पनि मानवीय क्षतिको आर्थिक लेखाजोखा गर्नै सकिँदैन ।

आफन्तजन गुम्दा कैयौं परिवार आर्थिक संकटमा धकेलिएका छन् । त्यतिमात्र होइन सामाजिक रूपमा एक्लिएका छन् । प्रत्येक दुर्घटनाले टुहुरा बालबालिका, एक महिला, बुढेसकालमा सहाराविहीन हुनेको संख्या बढाइरहेको देखिन्छ ।
एउटा पाइलट तयार गर्न तालिममा मात्र कम्तीमा डेढदेखि ३ करोड रुपैयाँ खर्च हुन्छ । ‘अहिले नेपालका दुर्गम भेगमा उड्ने ट्वीनअटर र डोर्नियरको आईपी (प्रशिक्षक पाइलट) विकास हुनै सकेको छैन,’ वायुसेवा सञ्चालक संघका एक सदस्यले भने, ‘दुर्गममा उड्ने विमानका लागि प्रशिक्षक पाइलट तयार हुनै वर्षौं लागिरहेको छ । त्यसमाथि न्यूनतम ८ लाख रुपैयाँसम्म तलब प्रस्ताव
गर्दा पनि पर्याप्त छैनन् । इन्डस्ट्रीले भएकालाई पनि निरन्तरता दिन
सकिरहेको छैन । उनीहरू अत्याधुनिक सुविधा भएका ठूला जहाजतर्फ ‘मुभ’ भइरहेका छन् ।’
हवाई क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा राज्यको ध्यान केन्द्रित नभए अबको केही वर्षपछि निजी क्षेत्र दुर्गम उडानबाटै पलायन हुन सक्ने खतरा रहेको दुई दशकदेखि आन्तरिक हवाई उडानमा संलग्न एक सीईओले भने । विदेशी वायुसेवाका लागि समेत पाइलट अभाव ‘मुख्य समस्या’ छ । ‘संसारभर सर्वाधिक हवाई गन्तव्य बनाएको अमेरिकाको युनाइटेड एयरलाइन्सले भन्ने गरेको छ– बरु दुर्घटनामा जहाज गुमाउनुपरोस्, पाइलट नपरोस्,’ अवकाशप्राप्त पाइलट डीआर निरौलाले भने, ‘वायुसेवा कम्पनीमा वर्षौं लगाई हजारौं घण्टा आकाशमा उडिसकेका सिपालु क्याप्टेन तथा प्रशिक्षक पाइलटको महत्त्व कति हुन्छ भनेर युनाइटेडले भन्ने गरेको स्टेटमेन्टले देखाउँछ ।’
नेपालमा विज्ञान विषयमा उच्च शिक्षा सकेपछि कम्तीमा ७५ लाखदेखि १ करोड रुपैयाँ लगानी गरी डेढ वर्ष हाराहारीको तालिम लिन अमेरिका, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत देश पुग्नुपर्छ । त्यहाँबाट स्वदेश फर्किने जनशक्ति सबैभन्दा पहिले निजी वायुसेवामा व्यावसायिक उडानका लागि भर्ना हुन पुग्छन् । एकल इन्जिन भएको जहाज उडाउने तालिम उत्तीर्ण गरेर आएकालाई यहाँ जहाजको प्रकारअनुसार ‘टाइप–रेटिङ’ तालिमलगायतमा वायुसेवाले ५० लाख रुपैयाँ हाराहारी खर्च गर्छ । त्यसपछि मात्रै उनीहरू क्याप्टेनसँग उड्न योग्य बन्छन् ।
प्रशिक्षक पाइलटको अनुभवसमेत भएका निरौलाका अनुसार एक जना ‘फ्रेस को–पाइलट’ तालिम लिई नेपाल फर्किंदा १ करोड रुपैयाँ लगानी भइसकेको हुन्छ । त्यस्ता को–पाइलट क्याप्टेन हुन झन्डै ५ वर्ष लाग्छ । यो अवधिमा उसले कम्तीमा २५ सय घण्टा आकाशमा बिताइसकेको हुनुपर्छ । क्याप्टेन हुँदासम्म व्यक्तिगत तालिम र निजको लगानीमात्रै न्यूनतम अढाई करोड पुग्छ ।
वायुसेवाकै एक चार्टर्ड एकाउन्टेन्टका अनुसार नेपालमा रहेका हरेक वायुसेवाले अरू मुलुकले जस्तै पाइलटलाई ६/६ महिनामा तालिमका लागि विदेश पठाउनैपर्छ, यो अन्तर्राष्ट्रिय नियम छ । अन्तर्राष्ट्रिय उड्डयन संगठनले बनाएको यो बाध्यकारी मापदण्ड हो । यसको पालना भए/नभएको हेर्न हरेक देशको सिभिल एभिएसन प्रणाली हुन्छ । यस्तो तालिममा वर्षमा दुई पटक पठाउँदा एउटा पाइलटका लागि वार्षिक न्यूनतम १२ लाख रुपैयाँसम्म लगानी हुने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । वायुसेवाले स्वदेशमा दिने ‘सिमुलेटर’ तालिम, ककपिट तथा ग्राउन्ड प्रशिक्षण र अन्य तालिम प्राप्त गरेर निश्चित घन्टा उडाइसकेका अनुभवी क्याप्टेन त्यसपछि मात्रै प्रशिक्षक पाइलट हुन्छन् । ‘यो श्रेणीमा पुग्न नियमित उडान गर्दै जाँदा एक जनाले कम्तीमा १० वर्ष बिताउनुपर्छ भने तालिममा मात्रै ३ करोड रुपैयाँ लगानी भइसक्छ,’ निगमको एयरबसका एक वरिष्ठ पाइलटले भने ।
नेपालमा सर्वाधिक जहाज भएको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत वायुयान दुर्घटनापछि पाइलटको क्षतिको हिसाबै गर्न नसकिने बताउँछन् । ‘पाइलटहरूको क्षतिको हिसाब नै अमूर्त हुन्छ । दुर्घटनामा क्याप्टेन वा प्रशिक्षक पाइलट गुमाउनु भनेको कुनै पनि वायुसेवाले दसौं करोड मूल्यको अनुभव तथा योग्यता गुमाउनुसरह हो,’ उनले भने ।
विमान दुर्घटनाले कम्पनीको ब्रान्डमा असर गर्नुका साथै दुर्गम क्षेत्रमा आवश्यक अनुभवी क्याप्टेनको अभाव बढ्दै गएको आन्तरिक वायुसेवाको दुर्गम उडान गर्ने एक क्याप्टेन बताउँछन् । ‘ब्रान्डमा असर पर्ने र यात्रुको विश्वसनीयतामा कमी हुने त छँदै छ,’ उनले भने, ‘दुर्गम तथा हिमाली रुटमा पछिल्ला वर्ष ३० भन्दा बढी विमानस्थल छन्, तर त्यहाँ सेवा दिने चार वायुसेवामा जहाजको संख्या १० पनि छैन । यस हिसाबले अबका केही
वर्षपछि दुर्गममा व्यावसायिक उडान नै नहोला कि भन्ने देखिन्छ । त्यसमाथि जहाज उडाउने दक्षता भएका अनुभवी क्याप्टेन र प्रशिक्षक पाइलटको अभाव बढ्दो छ ।’
दुर्घटनापछि गुमेका दक्ष जनशक्तिको अभाव पूर्ति गर्न नेपालको वायुसेवा क्षेत्रलाई वर्षौं लाग्ने अर्का एक पाइलटले बताए । ‘तीसको दशकसम्म भारतीय पाइलटको दबदबा थियो, त्यसबाट मुक्त भएर तयार भएको जनशक्ति गुम्दा भएको क्षतिको लेखाजोखा गर्नै सकिन्न,’ उनले भने, ‘यस्तो जनशक्ति तयार गर्न अब नेपालको वायुसेवा क्षेत्रलाई वर्षौं लाग्नेछ ।’

Page 2
समाचार

मन्त्रीको निर्देशनले पुरिएनन् खाल्डाखुल्डी

- कान्तिपुर संवाददाता

शब्द : विमल खतिवडा
तस्बिरहरू : दीपक केसी, इलिट जोशी र केशव थापा

सरकारमा जिम्मेवारी लिनेबित्तिकै नेताहरु सम्बद्ध मन्त्रालयमा आफ्नो आदेशबाट काम भएको देखाउन पछि पर्दैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेतृत्वको जिम्मेवारी पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यसै गरे । गत पुस १० मा पदभार ग्रहण गरे, जिम्मेवारीमा रहेका उच्च पदस्थ कर्मचारी र निर्माण व्यवसायीलाई बोलाएर काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न १५ दिने समयसीमासहित निर्देशन दिए । उनले पुस १९ मा दिएको समयसीमा माघ ३ मा सकियो । तर, काठमाडौंका सडकमा खाल्डाखुल्डी असरल्ल छन् । मेलम्ची खानेपानी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र विद्युत् प्राधिकरणले पाइप र तार भूमिगत गर्दा जथाभावी खनेर छाड्दाका खाल्डाखुल्डी पैदल यात्रुका लागि धराप बनेका छन् । खाल्डाखुल्डी हेर्दा सम्बन्धित निकायले मन्त्रीको निर्देशन अटेर गरेको देखिन्छ ।
मुख्य सडक मात्र होइन, धोबीखोला करिडोरको अवस्था पनि उस्तै छ । जताततै खाल्डैखाल्डा छन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीलाई मन्त्रालयमा बोलाएर खाल्डाखुल्डी पुर्न मन्त्रीले निर्देशन दिएका थिए । अहिले बढी सवारी चाप हुने शंखमूल, पुरानो तथा नयाँ बानेश्वरको भित्री सडक, कालोपुल, चाबहिल, टेकु, अनामनगर, बालाजु, विजेश्वरी, कपनलगायत क्षेत्रमा खाल्डैखाल्डा छन् । कतै खाल्डो खनेर ढुंगा थुपारिएको छ त कतै खनेर अलपत्र छाडिएको छ । मन्त्री श्रेष्ठले गत बुधबार काठमाडौं, ललितपुर महानगर, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायलाई बोलाएर सडकका खाल्डाखुल्डी पुर्नेबारे छलफल गरेका थिए ।
मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । जहाँ–जहाँ खाल्डाखुल्डी छन्, ती मेलम्ची खानेपानी र विद्युत् प्राधिकरणका कारण भएका छन् । पुर्न सम्बन्धित निकाय तयार भएको उनको भनाइ छ । तर, मन्त्रीले तोकेको समयमा भने न खाल्डाखुल्डी पुरिए, न त उत्यकामा लामो समयदेखि अलपत्र सडकमा सुधार भएको छ । मन्त्री श्रेष्ठले उपत्यका बाहिरका सडकका खाल्डाखुल्डी पनि पुस १९ देखि १ महिनाभित्र पुरिसक्न निर्देशन दिए । तर, उनले दिएको समय सकिन १२ दिन बाँकी छँदा प्रगति केही छैन । खाल्डाखुल्डी उस्तै छन् ।

 

समाचार

मलेसियामा बन्धक थप १२ जनाको उद्धार

- कान्तिपुर संवाददाता

 

गोरखा (कास)– मलेसियामा रोजगारदाता कम्पनीबाटै बन्धक बनाइएका थप १२ जना नेपालीको उद्धार भएको छ । २० दिनपछि नेपाल सरकारको पहलमा शुक्रबार उनीहरू स्वदेश फर्किएका छन् । बन्धक बनेका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो । शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनिल अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, वीरबलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का फर्किएका हुन् ।
फर्कंदाको हवाई टिकट खर्च भने उनीहरू आफैंले गरेका हुन् । गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक भने अघिल्लो बुधबार नेपाल फर्किएका थिए । रोजगारीका लागि मलेसिया पुगेकाहरू पुस १७ बाट केलाङ सहरको एक भवनको तेस्रो तलामा बन्धक थिए । ललितपुर सानेपाको खोजी रिक्वायरमेन्ट मेनपावर कम्पनीबाट गत भदौ २३ मा मलेसियाको हङ टिज चिकेन सप्लायर्समा उनीहरू काम गर्न पुगेका थिए । कम्पनी सञ्चालकले एक कामदारलाई कुटपिट गरेका थिए । अरूले विरोध जनाएसँगै उनीहरू कामबाट निकालिएका हुन् । अब मेनपावरसँग क्षतिपूर्ति माग गर्ने गोरखाका ठाकुर रेग्मीले बताए । ‘सहमतिमा दिए ठीक छ, नदिए कानुनी बाटोमा जान्छौं,’ उनले भने ।
फर्किएकाहरू काठमाडौंस्थित एक होटलमा छन् । नेपाल सरकारको पहलमा नै आफूहरू फर्कन पाएको भोजपुरका बाबुराम बास्तोलाले बताए । ‘पहिले सात जना आयौं, अहिले थप १२ जना साथीहरू पनि आइपुग्नुभयो,’ उनले भने । गत भदौ २३ मा मलेसिया पुगेदेखि नै यातना भोग्नुपरेको उनले बताए । ‘हामी परिवार पाल्नु छ, दुःख गर्नुपर्छ भनेर उतै रोकिएर काम गर्ने कोसिस पनि गरेका हौं,’ उनले भने, ‘थोरै मिस्टेक भयो, केही चित्त बुझेन भने यातना पाइहाल्थ्यौं । कतिखेर पिटाइ खाइन्छ टुंगो नहुने हर्कतले फर्कनुपरेको हो ।’

 

समाचार

मधेसकेन्द्रित दल सरकारसँग रुष्ट

- कान्तिपुर संवाददाता

(काठमाडौं)
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० मा प्रधानमन्त्री बनाउन समर्थन गर्ने सातदलीय मोर्चामा सामेल थिए– जसपा र जनमत पार्टी । पुस २६ मा मधेसकेन्द्रित अर्को दल लोसपा पनि सरकारलाई विश्वासको मत दिएर सत्ताधारी कित्तामा उभियो । तर सत्ता बाँडफाँटलाई लिएर यी तीनै दल सरकारसँग रुष्ट भएका छन् ।
मन्त्रिपरिषद्मा जनमत पार्टीका एक जना मन्त्री भए पनि उनले कार्यभार सम्हालेका छैनन् । सरकारमा जान खुट्टा उचालेका जसपा र लोसपा ‘सम्मानजनक’ मन्त्रालय नपाएको भन्दै पछि हटेका छन् ।
प्रतिनिधिसभामा जसपाका १२, जनमतका ६ र लोसपाका ४ सांसद छन् । एमाले नेतृत्वको चुनावी गठबन्धनमै सहभागी रहेको जसपा दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्तावमा सहजै सामेल भएको थियो । पहिलो पटकमै मधेसबाट राष्ट्रिय पार्टीका रूपमा उदाएको जनमत पार्टी भने काठमाडौं पुगेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पर्कमा पुगेको थियो । उसले कांग्रेसलाई सत्ता समीकरणमा साथ दिने बचन पनि दिएको थियो तर पुस १० मा जसपाकै लाइनमा उभियो । यी दुवै दल अहिले वर्तमान सत्ता गठबन्धनबाट ‘धोका’ र ‘अपमान’ भएको महसुस गरिरहेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले सत्तामा सामेल दलहरूले मन्त्रालय भागबन्डामा एकलौटी गरेकाले सरकारमा सामेल नभएको बताए । ‘उहाँहरूले आफू–आफूमा मन्त्रालय भागबन्डा गरेर हामीलाई सुनाउनुभयो, त्यसरी पनि भागबन्डा हुन्छ ?’ उनले भने, ‘अहिलेको अवस्थामा हामीले सरकारलाई समर्थन मात्र गरेका हौं, हाम्रो पार्टी कुनै पनि गठबन्धनमा छैन ।’
जसपाले सरकार निर्माणका लागि दाहाललाई समर्थन जनाए पनि नागरिकता विधेयकलगायत मुद्दामा सरकारको धारणा र शक्ति सन्तुलन हेरेर सरकारमा सहभागी हुने बताएको थियो । सत्ता साझेदार दलहरूले सरकारको साझा न्यूनतम कार्यक्रम तयारीका लागि गठन गरेको समितिमा जसपाले रकम चेम्जोङलाई सामेल गराएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीलाई बुझाएको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सरकारले पूर्णता पाएको ६ महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र संसद्को अधिवेशनबाट यथाशीघ्र नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसका साथै संसद्को पहिलो अधिवेशनबाट नागरिकतासम्बन्धी ऐनसहित एक दर्जन ऐन तर्जुमा वा परिमार्जन गर्ने भनिएको छ । आफूले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्ने प्रतिबद्धता भए पनि जसपा सरकारमा नजानुमा सत्ता सन्तुलन प्रमुख कारक रहेको छ ।
जसपाले उपराष्ट्रपति र तीन मन्त्रालयमा दाबी गरेको थियो तर सत्ता गठबन्धनले एकमात्र मन्त्रालय दिने गरी भागबन्डा टुंग्याएपछि असन्तुष्टि बढेको हो । ‘अहिलेकै अवस्थामा सरकारमा जाँदैनौं, बाहिरै बसेर समर्थन गर्छौं,’ अध्यक्ष यादवले भने ।
जनमत पार्टीले पहिलो चरणमै अब्दुल खानलाई दाहालको मन्त्रिपरिषद्मा पठाएको थियो । उसले बिनाविभागीय हैसियतमा रहेका खानलाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीसहित अर्को एक मन्त्रालय पनि दाबी गरेको थियो तर बुधबार भएको मत्रिपरिषद् विस्तारमा उसले एकमात्र मन्त्रालय (खानेपानी) पायो । सुरुमै मन्त्रीको शपथ खाएका खान त्यसयता मन्त्रालय गएका छैनन् । जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले सातदलीय गठबन्धनबीच भएको समझदारी उल्लंघन भएको बताए । ‘मन्त्रालयको संख्या र कार्यविभाजनबारे प्रधानमन्त्रीले जुन वाचा गर्नुभएको थियो, त्यसअनुसार नहुँदा हाम्रो मन्त्रीले जिम्मेवारी पनि लिनुभएको छैन,’ उनले भने, ‘सत्ता गठबन्धनले आफूलाई सच्यायो भने सम्बन्ध अगाडि बढ्ला । नभए सरकारमा बस्नुपर्छ भन्ने केही छैन, छोड्न पनि सकिन्छ ।’
जनमत पार्टीले सरकारमा जानका लागि नागरिकतासम्बन्धी मुद्दा सम्बोधन गर्नुपर्ने, तराई/मधेसलगायत आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीबीच भएका सम्झौताअनुरूप मुद्दा खारेज गर्नुपर्ने र अन्यायपूर्ण ढंगले बन्दी बनाइएकालाई कानुनसम्मत रिहाइ गर्ने प्रतिबद्धता मागेको थियो । सरकारले ग्रहण गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा जनमत पार्टीको चासोलाई सम्बोधन गरिएको छ । यद्यपि सत्तामा न्यायोचित र सन्तुलित व्यवहार नहुँदा सरकारमा सहभागी हुने–नहुने अवस्थामा पुगेको महासचिव सिंहले बताए । ‘प्रधानमन्त्रीले हाम्रो मागअनुसार मन्त्रालय मिलाउने वाचा गर्नुभएको छ, हेरौं उहाँले के गर्नुहुन्छ,’ उनले भने ।
राष्ट्रिय दल हुन नसके पनि मधेसमा स्थापित लोसपाले सरकारमा सहभागी हुनकै लागि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो । लोसपाले नागरिकतासम्बन्धी मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता भए सरकारमा सहभागी हुने जानकारी सत्ता गठबन्धनलाई दिएको थियो । सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा उक्त मुद्दा सम्बोधन भएपछि लोसपाले नेता शरतसिंह भण्डारीलाई सरकारमा सामेल गराउने तयारी गरेको थियो । तर, सत्ता गठबन्धनले रुचि देखाएन ।
नेता भण्डारीले राष्ट्रिय सहमतिको सरकार बनाउने सर्तमा सरकारलाई विश्वासको मत दिए पनि सत्ताधारी दलहरू त्यसबाट पछि हटेको बताए । ‘नागरिकता समस्यालगायत मुद्दामा ठोस प्रतिबद्धता आएपछि हामीले राष्ट्रिय सहमतिको सरकार बनोस् भनेर विश्वासको मत दिएका थियौं,’ उनले भने, ‘तर सरकारले आफूलाई केही दलमै सीमित गर्न खोजेपछि हामी प्रतिपक्षी भूमिकामा बस्ने भएका छौं ।’ प्रतिबद्धताको आधारमा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि अब कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा रहने पार्टीको निर्णय रहेको उनले बताए ।
मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री दाहालले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमात्र आफूसँग राखेका छन् । अन्य मन्त्रालय एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र, राप्रपा र जसपालाई बाँडफाँट गरेका छन् । जनमत पार्टीले यी दुईमध्ये एक मन्त्रालय मागेको छ । अर्कोतर्फ आफूलाई समर्थन गरेका जसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि यी दुई मन्त्रालय दिएर सरकारमा भित्र्याउने प्रधानमन्त्री दाहालको प्रयास छ । यद्यपि दुवै दलले सरकारमा सहभागी नहुने बताइरहेका छन् । ‘हाम्रो प्राथमिकता सत्ता होइन, टीकापुर घटनाका राजबन्दीलाई तत्काल रिहाइ गरियोस् भन्ने हो,’ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भनिन्, ‘वर्तमान सत्ता गठबन्धनले हामीलाई रिहाइको आश्वासन दिएपछि सरकार निर्माणका लागि समर्थन र विश्वासको मत दिएका हौं ।’
सत्ता गठबन्धन भने सरकार निर्माणका लागि समर्थन दिने जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबिनै पनि बहुमतमा छ । त्यसैले दाहाल यी दललाई सरकारमा सामेल गराउने दबाबमा छैनन् । प्रतिनिधिसभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ गरी १ सय ४५ सांसद छन् । सरकारलाई बहुमतका लागि १ सय ३८ सांसद भए पुग्छ । ‘समर्थन गरेका तीन दलले समर्थन फिर्ता लिएमा केन्द्र सरकारलाई कुनै फरक पर्दैन, प्रदेशतिर असर पर्ने हो,’ सत्ताधारी दलका एक नेताले भने, ‘केन्द्रदेखि प्रदेशसम्म सत्ता गठबन्धनकै सरकार होस् भन्नका लागि सकभर सबैलाई मिलाएर जाउँ भन्ने हाम्रो आग्रह हो ।’
नागरिक उन्मुक्ति पार्टीले सहयोग नगरेमा सुदूरपश्चिम सरकारमा एमाले, माओवादी र राप्रपाको बहुमत गुम्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सिट भएको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । त्यहाँ सत्ता गठबन्धनको २२ मतमात्र रहेको छ । मधेस प्रदेशमा पनि जसपा, जनमत र नागरिक उन्मुक्तिबिना सत्ता गठबन्धनको सरकार बन्न सक्ने अवस्था छैन । १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा एमालेको २३, माओवादीको ८ र राप्रपाको १ गरी ३२ सिट छ । अर्कोतर्फ सत्ता गठबन्धनमा रहेका जसपाको १६, जनमतको १३ र नागरिक उन्मुक्तिको १ गरी ३० सिट छ ।
मधेसमा जसपाको नेतृत्वमा सरकार बनेको छ । जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनको सहयोग नभए पनि मधेसको सत्तामा कुनै असर नपर्ने दाबी गरे । ‘मधेसमा कसैले चाहँदैमा जसपा नेतृत्वको सरकार ढल्दैन तर केन्द्रीय सत्तामा तत्काल हामी जाँदैनौं,’ उनले भने ।
जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले चाहेमा मधेस र सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण सत्ता गठबन्धनका लागि प्रतिकूल हुने अवस्था रहे पनि उनीहरू तत्काल समर्थन फिर्ता लिने अवस्थामा देखिँदैनन् । तीनवटै दलले अबको केही समय सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा समावेश सरोकार कसरी कार्यान्वयन हुन्छन्, ‘पर्ख र हेर’ को अवस्थामा बस्नेछन् । ‘सरकारमा सामेल नभए पनि हामीले उठाएका मुद्दाको कार्यान्वयन हुन्छ भन्ने विश्वासमा छौं, त्यसैले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं,’ जसपा अध्यक्ष यादवले भने ।

 

Page 3
समाचार

उपसभामुखमा रानामगर र यादवको उम्मेदवारी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट रास्वपाकी समानुपातिक सांसद रानामगरले उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन् । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे छन् । एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक समर्थक छन् ।
कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो । रानामगरको पक्षमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी छन् । बिहीबार भएको सभामुखको निर्वाचनमा
यही गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् । संसद् सचिवालयले उपसभामुखको निर्वाचनको कार्यक्रम शनिबार तय गरेको छ ।
कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी राष्ट्रिय सभाकी पूर्वसांसदसमेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । त्यसअघि उनी २०७० मा समानुपातिक सांसद थिइन् ।
शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले झापाकी रानामगरलाई अघि सारेको हो । उनी सामाजिक क्षेत्रमा स्थापित भइसकेकाले उपसभामुखमा अघि सारेको रास्वपाले जनाएको छ । बन्दी सहायता नेपालकी संस्थापक उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छन् ।

Page 4
वाग्मती प्रदेश

नाका नखुल्दा रित्तिँदै गाउँ

- अनिश तिवारी

(सिन्धुपाल्चोक)
उत्तरी तातोपानी नाका सर्वसाधारणका लागि नखोलिएको ७ वर्ष पुग्दा सीमासँग जोडिएका दुई गाउँ रित्तिने क्रममा छन् ।
सीमा बजारमा आवद्ध अधिकांश स्थानीय व्यवसायी र मजदुर नाका ठप्प भएयता पलायन हुन थालेका छन् । भोटेकोसी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले यहाँको पाँच वडा र बाह्रबिसे नगरपालिकाका दुई वडाका अधिकांश स्थानीय विदेश पलायन भएपछि गाउँमा अहिले युवा भेटिन मुस्किल भएको बताए । यसअघि सीमाक्षेत्र तातोपानी, लिस्तीकोट, दुगुना, फुल्पिङकट्टी र मार्मिङका दुई हजारभन्दा बढी युवा विदेश गएको भोटेकोसी गापाले जनाएको थियो । ‘त्यतिबेला नाकामा सानोतिनो व्यापार गरेका प्रायः बिदेसिएको अवस्था छ, नाका नखुल्दा यहाँको स्थानीय र व्यवसायीको बेहाल भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने । उनका अनुसार विदेश जानेहरू अधिकांश खाडी मुलुक पुगेका छन् ।
भोटेकोसी गापाको जनसंख्या करिब १७ हजार छ । तर यतिबेला आधा गाउँ खाली भइसकेको छ । सर्वसाधारण आउजाउका लागि नाका बन्द भएयता भोटेकोसी क्षेत्रका घर नै खाली गरेर पलायन हुने क्रम दिनहुँ बढिरहेको अवस्था छ । ‘नाका नचलेपछि विकल्पको खोजीमा केही बिदेसिए, केही मजदुरी गर्न अन्यत्र पुगे, तातोपानी, लिस्ती, बोक्चेन र फुल्पिङकट्टी गाउँमा युवा भेटिँदैनन्, घर कुरुवा बुढाबुढी मात्रै छन्,’ भोटेकोसी–४ का वडासदस्य शुकु शेर्पाले भने ।
भूकम्प र परकम्पपछि नाकाको बेहाल भएयता अत्यधिक बिदेसिनेमा भोटेकोसी–५ मार्मिङका छन् । माइती नेपाल र मार्मिङ महिला सञ्जालको एक अध्ययनअनुसार भूकम्पपछि मार्मिङबाट मात्रै २ सय ४७ जना इराक पुगेका छन् । मार्मिङको छ्यादी, चन्द्रखु, बम्रादेखि गोल्चीसम्मका झन्डै ४ सय ४४ जना बिदेसिएका हुन् । त्यतिखेर नाकामा होटल व्यवसाय र व्यापार गर्ने अधिकांश महिला बिदेसिएको देखिन्छ । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटका अनुसार नाका नचलेपछि २० वर्षअघिदेखि चल्दै आएका १ हजार ४ सय मालवाहक कन्टेनर, २८ सय चालक र ५ हजार मजदुर बेरोजगार भएका छन् । कन्टेनरमा ३ हजार बढीले रोजगार पाएका थिए । झोलेपोके व्यापार गर्ने लगभग २ हजार थिए । पर्यटक र व्यापारीको भारी बोक्ने सयौं स्थानीय थिए ।
‘ती सबै नाकामा निर्भर थिए, अहिले बिखलबन्दनमा परेका छन्, सरकारले नाकाबारे ध्यान नदिनु र कूटनीतिक पहल नर्गनुको परिणाम हो यो,’ सापकोटाले भने । उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर, नाका बन्द हुने र खुल्ने चिनियाँ मनमौजीका कारण बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब तिर्नै समस्या हुँदा सयौं व्यापारी पेसाबाटै पलायन भएका हुन् । व्यापारी, उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका सहज बनाउन माग गर्दै ६/६ महिनामा प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । ‘गाउँमा यस्तो समस्या देखिन थालेको छ, यसबारे सरकार सचेत हुनैपर्छ, नाका खोल्न समयमै पहलकदमी लिन आवश्यक छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भने । केही समयअघि आफूसहित नाका खुलाउन यस क्षेत्रका प्रतिनिधिसभा १ का सांसद माधव सापकोटा सुबोध, २ का सांसद मोहन बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले नेता गणले अर्थमन्त्रीसँग भेटेर छलफल गरेका थिए ।
चिनियाँ इलाका बजारक्षेत्रमा तीन वर्षदेखि जारी ल्हासा लकडाउन हटाइएपछि अहिले ल्हासा प्रशासनले ल्हासा मालवाहक रुट सुरक्षा प्रोटोकल हटाएको छ । कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित खुलाइएको थियो । नेपालका लागि चीनको ल्हासास्थित महावाणिज्य दूत नवराज अधिकारीका अनुसार चीनले मालवाहक सवारी रुटमा सुरक्षा प्रोटोकल अनिवार्य नगरेर आउजाउ खुकुलो बनाएसँगै निर्यात खुलाउने सम्भावना केही सकारात्मक संकेत भए पनि देखिने प्रगति भने छैन । भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका बन्द भएपछि उक्त बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन् । भूकम्प, भोटेकोसी बाढीपछि बर्सेनि ठूलो संख्यामा तातोपानी धारा नुवाउन आउने आन्तरिक पर्यटकको संख्याको भारी गिरावट अझै पनि पूर्ति हुन सकेको छैन ।

वाग्मती प्रदेश

फुटपाथ खाली गराउन नगरको उर्दी

- कान्तिपुर संवाददाता

रामेछाप (कास)– मन्थली बजारको फुटपाथमा व्यावसायिक सामग्री थुपार्ने क्रम बढेपछि नगरपालिकाले त्यसलाई तत्काल हटाएर आवागमन सहज बनाउन व्यवसायीलाई उर्दी जारी गरेको छ ।
बिहीबार मन्थली नगरपालिकाले बजारका सबै व्यवसायीलाई फुटपाथमा राख्दै आएका सामग्री तत्काल हटाउन आग्रह गरेको हो । अटेर गर्नेमाथि कारबाही गरिने चेतावनी पनि नगरपालिकाले दिएको छ । व्यवसायीले पसलभन्दा बाहिर पनि सामग्री थुपार्दा दुर्घटनाको जोखिम बढेकाले त्यस्ता सामग्री हटाउन थालिएको नगरपालिकाले जनाएको छ । यसअघि पनि नगर प्रहरीमार्फत पटक पटक फुटपाथका सामग्री हटाउनका लागि आग्रह गर्दै आए पनि व्यवसायीले टेरेका थिएनन् ।
नगरपालिकाले हटाउन आग्रह गरेकै दिन व्यवसायीले भने नगरविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
बिहीबार बजारका दर्जनौं व्यवसायीले नगरपालिकाले जारी गरेको सूचनाप्रति आपत्ति जनाउँदै आर्थिक मन्दी भएका बेला सरोकारवालासँग कुनै छलफल नै नगरी गरिएको कार्य स्थगन गर्न आग्रह गरेका छन् । व्यवसायीले नगरपालिका प्रमुख लब श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजारमा सबैतिर फुटपाथ, रेखाङ्कन, पार्किङलगायतका विषय टुंगो लगाएर मात्र अरू व्यवस्थापनको कार्य गर्न सुझाव दिएका हुन् । मन्थली बजारको मुख्य भागमा सानो फुटपाथ भए पनि अधिकांश क्षेत्रमा फुटपाथ निर्माण भएको छैन ।
‘हामी नगरपालिकालाई व्यवस्थित सहर बनाउनका लागि सहयोग गर्छौं’ स्थानीय व्यवसायी दीपक सापकोटाले भने, ‘तर नगरले पनि सबै बजारवासीको भावनाबमोजिमको काम गर्नुपर्छ ।’ उनले सबैतिर समान व्यवहार विगतदेखि नै नभएको गुनासो गरे । नगर प्रमुख श्रेष्ठले साँघुरो सडक र फुटपाथलाई व्यवस्थित बनाउँदा नगरपालिकालाई मात्र नभई व्यवसायीकै हित हुने देखेर कदम चालिएको बताए । ‘पसलभन्दा बाहिर सामान राख्दैमा व्यवसाय वृद्धि हुने हैन’ श्रेष्ठले भने, ‘सटरभित्रै राखेर पनि सामान बेच्न सकिन्छ ।(’ पार्किङको विषयमा नगरपालिका गम्भीर भएको उल्लेख गर्दै आसपासको क्षेत्र खोजी भइरहेको उनले बताए । व्यवसायीलाई कारबाही गर्ने मनसायले भन्दा पनि सुन्दर मन्थली बनाउने असल उद्देश्यले उक्त अभियान सञ्चालन गरेको श्रेष्ठको दाबी छ ।

Page 5
अर्थ वाणिज्य

विमान नआउने विमानस्थल

- कृष्णप्रसाद गौतम,तुलाराम पाण्डे,हरिहरसिंह राठौर

(सुर्खेत/कालीकोट/चौरजहारी)
निर्माण सुरु भएको ३७ वर्षपछि बहुचर्चित कोटवाडा विमानस्थलमा कालोपत्र गरियो । तर ७ वर्षअघि परीक्षण उडान भएको उक्त विमानस्थलमा अहिलेसम्म उडान भएको छैन । अहिलेसम्म कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित छ । स्थानीय भने विमानस्थल कालोपत्र भएपछि जहाज आउने आशामा छन् ।
स्थानीय ७५ वर्षीय नरवहादुर विष्ट ३३ वर्षको उमेरदेखि कोटवाडाको पाखो खनेर विमानस्थल निर्माणमा संलग्न थिए । उनी सुरुमा कुल्ली (कामदार) बाट विमानस्थल निर्माणमा खटिएका थिए । पछिल्लो समय मेट (कामदारको नाइके) समेत बने । ‘अहिलेजस्तो खन्ने डोजर, ढुंगा, माटो बोक्ने र टिपर भए त उहिल्यै काम सकिन्थ्यो,’ उनले भने, ‘कोदालो, साबेल, गैंचीले खनेर भैंसीको छालामा माटो बोकेर काम गर्‍यौं ।’ ०४२ सालमा निर्माण सुरु भएको विमानस्थलमा उनले सुरुदेखि नै काम गरे भने झन्डै एक महिना श्रमदान पनि गरे ।
जुँगाको रेखी बसेदेखि कोटवाडाको पाखो खन्न थालेका स्थानीय जनक विष्ट विमानस्थल कालोपत्र भएपछि खुसी छन् । उनले पनि अब विमानस्थल कालोपत्र भएसँगै जहाज आउने आशा जागेको बताए । ‘रोड (सडक) नभएको बेला एयरपोर्ट बनेको भए त धेरै सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले गाउँसम्म सडक पनि पुग्यो, तर जहाज आए जरुरी काम हुँदा सहर जान पाइन्थ्यो ।’ कोटवाडा विमानस्थल कालीकोटवासीको सडकभन्दा पनि पुरानो सपना भएको उनको भनाइ छ ।
निर्माण सुरु भएको ३ दशकपछि ०७३ माघमा कोटवाडा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरे पनि नियमित उडान हुन सकेको छैन । विमानस्थल कालोपत्र सकिएर यही माघ १५ सम्म हवाई प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ । विमानस्थलको टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङलगायत संरचना निर्माण भइसकेका छन् । खानेपानी, बिजुली, धावनमार्गको सुधारलगायत काम भइरहेको विमानस्थल निर्माणमा संलग्न प्राविधिक केदार केसीले बताए । ‘ठेक्काको सबै काम माघभित्र सकिन्छ,’ उनले भने, ‘फागुनबाट विमानस्थलमा विमान अवतरण गर्न सकिने अवस्था छ ।’
विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरी/पार्वती श्याम एन्ड शंकर जेभीले सम्झौताअनुसारको काम सकेर हस्तान्तरणको तयारी गरेको छ । कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । विमानस्थल सुधारमा १५ करोड १४ लाख रकम लागेको विमानस्थल कार्यालयले जनाएको छ । ६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ । कोटबाडा विमानस्थल कर्णालीका मुगु, डोल्पा र हुम्लाको भन्दा लामो र फराकिलो रहेको हवाई प्राधिकरणको दाबी छ । विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने कोटवाडा विमानस्थल नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाडाचक्रसहितका स्थानीय तह र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुने नन्दादेवी मावि कोटवाडाका प्रधानाध्यापक रत्नसिंह साउदले बताए । ‘चिलगाडी’ चढेर जाने नरहरिनाथका बासिन्दाको वर्षौं पुरानो सपना भएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको भनाइ छ । ‘विमानस्थल निर्माण सकियो, अब नियमित उडानका लागि पहल गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अब अछामको रामारोसन, त्रिवेणी पाटन र बडिमालिका जाने पर्यटकका लागि सहज हुनेछ ।’ सडक गाउँमा पुगे पनि बिरामी पर्दा र सुत्केरी हुन नसक्दा जहाजको उपयोग हुने उनी बताउँछन् ।
कोटवाडा विमानस्थल खन्न लागेको ३१ वर्षपछि ०७३ सालमा जहाज आए पनि जहाज पढ्ने धोको अझै पूरा नभएको नरहरिनाथ–१ का वडाध्यक्ष पुर्थी विष्टको गुनासो छ । ०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ बजेटबाट काम सुरु गरिएको थियो । विष्टले पनि विमानस्थलको काम सुरु हुँदा प्रतिदिन ५ रुपैयाँ ज्यालामा काम गरेका थिए । अहिले मजदुरले दैनिक ८ सय रुपैयाँ ज्याला बुझिरहेका छन् । सशस्त्र द्वन्द्वका बेला ०५८ फागुनमा अछाम मंगलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगिमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि पुनः सुरु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटवाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ ।
आठ वर्षपछि विमानस्थल स्तरोन्नति गरिँदै
आठ वर्षदेखि अलपत्र रुकुम पश्चिमको चौरजहारी विमानस्थलको स्तरोन्नति गरी धावनमार्गको विस्तार गर्न थालिएको छ । तर ८ वर्षअघि कालोपत्र गरिएको विमानस्थलमा जहाज चलेका छैनन् । कच्ची धावनमार्ग हुँदासम्म उडान भइरहने विमानस्थल कालोपत्र भएपछि भने ठप्प बनेको हो । अहिले विमानस्थललाई डोल्पा, जुम्ला र जाजरकोटका पर्यटन विकासमा टेवा पुर्‍याउने गरी ७२ सिटे जहाज ओर्लने क्षमता भएको हवाई मैदानमा विस्तार गर्न लागिएको कर्णाली प्रदेशका पूर्वअर्थमन्त्रीसमेत रहेका स्थानीय गोपाल शर्माले बताए । संघीय सरकारको अर्थ मन्त्रालयले त्यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । हवाई मैदानको डीपीआर गर्न र मुआब्जा वितरण गर्न ९ करोड रुपैयाँ विनियोजन गरिएको उनले जनाए ।
नेपाल पर्यटन बोर्डमार्फत विनियोजित बजेटको सदुपयोग गर्न पहल भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए । अहिले उत्तर–दक्षिण फैलिएको धावनमार्गलाई ७२ सिटे जहाज ओर्लन सक्ने बनाउन नाखिरागाउँसम्मको जग्गा अधिग्रहण गरिनेछ । चौरजहारी विमानस्थल ०७० फागुनदेखि ०७२ भदौसम्मको समय लगाएर कालोपत्र गरिएको थियो । ५ करोड ५९ लाख रुपैयाँ लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि त्यसयता एउटै जहाज उडेको छैन । सुरुमा नेपाल वायुसेवा निगमले जहाज नभएको भन्दै उडान बन्द गराएको थियो । अहिले भने यात्रु नभएको कारण देखाउँदै जहाज आउन छाडेका छन् । चौरजहारीस्थित नेपाल वायुसेवा निगमको कार्यालय हटाएकै ६ वर्ष भएको छ । स्थानीय अब कहिल्यै जहाज नआउने हो कि भन्ने चिन्तामा छन् । ‘कार्यालय हुँदा जहाज आइहाल्छ कि भन्ने आस हुन्थ्यो,’ स्थानीय झुपबहादुर बुढाले भने, ‘वायुसेवा निगमले कार्यालय नै हटाएपछि त्यो आस पनि मरेको छ ।’
वायुसेवा निगमले कार्यालय उठाएर नेपालगन्ज लगेपछि त्यहाँ कार्यरत जुनियर सहायक कर्मचारी सुरेन्द्र नेपालीलाई सदरमुकामस्थित सल्ले विमानस्थल पठाइएको छ । विमानस्थलको धावनमार्ग नजिकै नागरिक उड्डयन प्राधिकरणको कार्यालय र टावर छ । तर त्यहाँ लामो एयर ट्राफिक कन्ट्रोलर (एटीसी) छैन । यो टावर पनि वर्षौंदेखि ढोका लगाएकै अवस्थामा छ । विमानस्थल सुरक्षाका लागि प्रहरी चौकी भए पनि बजार गस्तीमै सीमित भएको स्थानीय कमल लामिछानेले बताए । विमानस्थल बन्द भएपछि स्थानीयले काँडेतार हटाएर बिस्कुन सुकाउने र पशुचौपाया चराउने गर्न थालेका छन् । ‘जहाज नै नभएपछि विमानस्थलको के काम ?’ उनले भने । धावनमार्ग वरिपरि झाडी उम्रिएको छ भने टावरघरमा ताला लागेको छ ।
स्थानीय गाडीबाटै जिल्ला बाहिर जान थालेपछि विमानस्थल थप ओझेलमा परेको स्थानीय अगुवा यदु आचार्यले बताए । ‘अब त चौरजहारीमा जहाज आउँछ भन्ने कुरा कथा जस्तै भयो,’ उनले भने, ‘उडान नहुँदा जरुरी काम हुने र बिरामीलाई जिल्लाबाहिर जान निकै सास्ती छ ।’ रुकुम पश्चिम, सल्यान र जाजरकोटलाई लक्ष्य गरी ०२८ सालमा विमानस्थल बनाइएको थियो । विमानस्थल पुनः सुरु नहुनुको कारणबारे आफू अनभिज्ञ रहेको निगमका जुनियर सहायक सुरेन्द्र नेपालीले बताए । ‘नियमित जहाज आएपछि यात्रु नपाइने भन्ने हुँदैन,’ उनले भने, ‘तर किन हो यहाँ जहाज पठाउन निगमलाई मुस्किल भइरहेको छ ।’

अर्थ वाणिज्य

क्रसर बन्दको विरोधमा व्यवसायी

- विमल खतिवडा

(काठमाडौं)
सरकारले पूर्णरूपमा कार्यान्वयन गर्न सक्ने कार्यविधि बनाई बिनात्रास क्रसर उद्योग चलाउने वातावरण बनाउनुपर्नेमा निर्माण व्यवसायीले जोड दिएका छन् । तर बाहुबली रूपमा राजनीतिक दलको संरक्षण प्राप्त व्यक्ति र प्रहरी प्रशासनसँग साँठगाँठ गर्नेले क्रसर उद्योग चलाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनीहरूको भनाइ छ । ‘खानीजन्य, निर्माणजन्य व्यवसाय गर्छु भन्नेलाई सहज हिसाबले व्यवसाय गर्ने ऐन–कानुन बनाउन आवश्यक छ,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘क्रसर उद्योगमा भएका विकृतिलाई पनि सच्याउन जरुरी छ ।’
व्यवसायीले निर्माण अवधिका लागि निर्माण सामग्री उत्पादन गर्न लिएको लाइसेन्सबाहेक अतिरिक्त उत्पादन गरेर क्रसर व्यवसायीलाई समस्या पर्न दिन नहुने उनको भनाइ छ । ‘कतिपय ठाउँमा निर्माण उद्योगीले क्रसर राख्न खोज्दा व्यवधान भएको छ,’ उनले भने, ‘एकअर्काको कार्यक्षेत्रमा कसैले हस्तक्षेप गर्नुभएन ।’ क्रसर व्यवसायीले ‘बाहुबली रूप’ देखाउनु नहुने उनको तर्क छ । अदालतको आदेश पालना गर्ने नाममा गृह मन्त्रालयले त्रासदीपूर्ण वातावरण सिर्जना गरेको सिंहले बताए ।
‘पूर्णरूपमा बन्द गरेर उचित समयावधि दिई क्रसर उद्योगलाई व्यवस्थापन गरिनुपर्छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन न्यून हुने किसिमले नेपालभर क्रसर जोन बनाइनुपर्छ ।’ गृह मन्त्रालयले गत पुस २० मा ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै अवैध क्रसर बन्द गराउन भनेको थियो । नदी तथा खोलाबाट कानुनविपरीत ढुंगा, गिट्टी, बालुवा उत्खनन र प्रशोधन गर्ने १ हजार २ सय १ क्रसर उद्योगको सूचीमा रहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जनाए । तीमध्ये ८ सय ९० वटा क्रसर बन्द भइसकेका छन् । ‘दर्ता र नवीकरण नभएका क्रसर बन्द भएका हुन्,’ उनले भने, ‘यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समन्वय गरेर हेरिरहेको छ, यसमा केही नीतिगत संशोधन हुनेछ ।’
क्रसर उद्योग बन्द भएपछि यसले देशको अर्थतन्त्रमा ठूलो असर परेको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको भनाइ छ । ‘पूर्वाधार विकासको काम ठप्प भएको छ । ८ खर्बका आयोजना ठप्प छन् । ८ हजारभन्दा बढी आयोजना बन्द भएका छन्,’ उनले भने, ‘मुलुकको राष्ट्रिय गौरवका आयोजनादेखि सबैको काम रोकिएको छ ।’ क्रसर उद्योगमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी छ । ‘१ खर्ब ४० अर्ब रुपैयाँ लगानी भएको निर्माण उद्योगलाई पनि यसले ठप्प बनाएको छ,’ उनले भने, ‘सरकारले समयसापेक्ष निर्णय नगर्दा क्रसर उद्योग बन्द भएका हुन् ।’ पुस २० अघिको भन्दा निर्माण सामग्रीको मूल्य तीन दोब्बर बढेको उनको दाबी छ । बढी मूल्य तिरेर पनि ढुंगा, गिट्टी, बालुवा पाउन नसकेको उनले सुनाए ।
‘सरकारले वैज्ञानिक एवं व्यावहारिक रूपमा कानुन बनाउनुपर्छ,’ सिंहले भने, ‘कानुन बनाएर निर्बाध चलिरहेका उद्योगलाई बन्द गराउन अर्को कानुन बनाउनुअघि विवेकपूर्ण रूपमा सोच्न आवश्यक छ । यसले दीर्घकालीन रूपमा कस्तो असर गर्छ, सोच्न जरुरी छ ।’ सरकारले बनाएको नीतिनियम अनुसार केही सीमित क्रसर मात्र सञ्चालन हुने उनको भनाइ छ ।

Page 6
समाचार

सिकारीले मारे २ गैंडा

- कान्तिपुर संवाददाता

नवलपुर (कास)– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा शुक्रबार दुइटा गैंडा मृत फेला परेका छन् । दुईमध्ये एउटा माउ गैंडाको खाग काटेर लगिएको अवस्थामा भेटिएको छ । चोरी सिकारीको संगठित समूहले गैंडा मारेर खाग लगेको हुन सक्ने प्रहरीको शंका छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यबिन्दु–२ सेहरीनजिक नारायणी नदीको भँगालोमा गैंडा मृत भेटिएका हुन् । गैंडा मारिएको स्थानमा विद्युतीय तारसमेत फेला परेकाले करेन्ट लगाएर मारिएको हुन सक्ने एसपी भुवनेश्वर तिवारीले बताए । घटनाबारे निकुञ्जले अनुसन्धान सुरु गरेको जनाएको छ । चितवनको माडी क्षेत्रमा अघिल्लो वर्षको साउन ११ मा सिकारीले एउटा गैंडा मारेका थिए । उक्त गैंडाको पनि यसैगरी खाग काटेर लगिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शुक्रबार मारिएको अवस्था फेला परेका गैंडामा एउटा पोथी र अर्को सानो भाले छ । माउ गैंडा अन्दाजी १४ वर्षको र बच्चा ४ वर्षको हुनुपर्ने अनुमान छ । सिकारीले मारेको शंकापछि गैंडाको सुरक्षाबारे चिन्ता सुरु भएको छ । चितवन निकुञ्जमा हाल ६ सय ९४ गैंडा छन् । नेपालभरि ७ सय ५२ गैंडा छन् ।

 

Page 8
खेलकुद

फुटबल जलिरहँदा बाँसुरी बजाइरहेको एन्फा

- हिमेश

(काठमाडौं)
ओहो १ यस्तै विस्मात्पूर्ण प्रतिक्रिया त आउँछ, जतिबेला सुन्नुपर्ने हुन्छ, एकपछि अर्को फुटबल खेलाडी विदेश पलायन हुँदै छ भनेर । कतै कुनै दिन सहिद स्मारक लिग ‘ए’ डिभिजन सुरु हुनेछ । तर, मूल कुरा अर्कै बन्दै छ, त्यही खेलाडी पलायनको । त्यो पनि अधिकांस अस्ट्रेलियातर्फ । कुरा त नेपाल सुपर लिगको पनि छ । तर ती सबै फिक्का हुनेछन् । एकजना होइन, दुईजना होइन, ३० भन्दा बढी खेलाडी पछिल्लो समय परदेश लागेका छन् । अस्ट्रेलिया, अमेरिकाजस्ता मुलुक उनीहरूको गन्तव्य बनेको छ ।
यस्तोमा प्रश्न बन्छ, फुटबल खेल्ने चाहिँ को त ? दशरथ रंगशालाको छेउछाउ हिँडिरहेकालाई टिपेर खेलाउन त सकिन्न नै । ओ यो होइन, ओ यो...हो भन्ने स्थिति पनि आउनेछ । झन् विस्मात्पूर्ण स्थिति बन्छ, जतिबेला थप केही खेलाडी पनि अस्ट्रेलिया वा अन्यत्र मुलुक लाग्नेछन् । हल्लामा सुन्न पाइन्छ, केही खेलाडी उतै जाने सुरसारमा छन् । अस्ट्रेलियातर्फ सुरु–सुरुमा लागेका जगजित श्रेष्ठ भन्छन्, खेलाडीलाई पनि सुखद जीवनका लागि प्रयास गर्ने अधिकार हुन्छ नि ।
किन नहुनु ? हुन्छ । सायद त्यसैले होला अखिल नेपाल फुटबल संघ (एन्फा) पनि चुपचाप छ । सायद उल्टै मज्जा लिइरहेको छ । तिनको तर्क कुनै समय हो नै जस्तो लाग्छ, आखिरमा विदेश जाने खेलाडीलाई रोक्ने कसरी ? त्रिभुवन विमानस्थल गएर फर्काउन त सकिन्न । तर, सबथोक यत्तिकै सजिलो र सामान्य छैन । नेपाल फुटबल धसिँदै छ, गहिरो न गहिरो खाल्डोमा । खेलाडीलाई नेपाली फुटबलप्रति यति धेरै अविश्वास कहिल्यै लागेको थिएन ।
न त खेलाडीले नेपाली फुटबलसँग यति धेरै चित्त कहिल्यै दुखाएका थिए । खेलाडीको पलायनको शृंखलाले नेपाली फुटबलमा यसअघि कहिल्यै नआएको संकट निम्तिन सक्छ । ‘ए’ डिभिजनमा उक्लेर के–के न गर्नु भनेर उत्साहित चर्च ब्वाइजले दिनेश राजवंशी र तेज तामाङलाई अनुबन्ध
गरेर सबैको ध्यान आफूमा तानेको थियो । केही दिन बित्न पाएको थिएन तिनै खेलाडी पनि अस्ट्रेलिया लागे । एक–दुई दिनको फरकमा गौतम श्रेष्ठ, नितिन थापा र रञ्जन विष्ट पनि उतै हान्निए ।
त्यसो त यसअघि पनि फुटबल खेलाडी विदेश नगएका होइनन् । गएकै थिए । पछि जाने रोकिने छैन । तर जसरी जुन मात्रामा अहिले खेलाडी गइरहेका छन्, त्यो भने वास्तवमै निकै चिन्ताजनक स्थिति बनेको छ । सबैभन्दा पहिले एउटा सूची बनाऔं त । तिनै जगजित आफ्नो खेलजीवनको उत्कृष्ट समयमै अस्ट्रेलिया लागे । व्यक्तिगत रूपमा निहुँ खोजिरहने उनको बानी छ । तर, उनी माथिल्लो दर्जाका खेलाडी हुन् । यसमा कसको शंका थियो र ?
जगजितले खनेको बाटो पछ्याउँदै शुलभ मास्के, हेमन गुरुङ, एलान न्यौपाने पनि लागे । पछिल्लो दक्षिण एसियाली खेलकुदमा पुरुषतर्फ फुटबलमा स्वर्ण जित्ने टिमका एक तिहाइभन्दा बढी खेलाडी अस्ट्रेलिया पुगिसके । अभिषेक रिजाल त्यस टिमका एक सदस्य थिए । किन हो उनले पछिल्लो समय हल्का लय त गुमाए । उनी पनि माथिल्लो दर्जाकै खेलाडी हुन् । जगजित जस्तै नेपाली फुटबलमा केही र्छु भन्ने ‘एटिच्युड’ थियो ।
सागको त्यस यू–२३ टिमका अभिषेकसँगै दिनेश, सुमन अर्याल, मिक्चेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ र रेजिन सुब्बा पनि अहिले अस्ट्रेलियामै छन् । यो सूचीको लगभग सबैले नेपाली राष्ट्रिय टिमबाट खेले । अझै खेल्न सक्थे । यस्तो सूचीमा सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ र सन्जोक राईको नाम थपे हुन्छ । यसमा थप्ने मिल्ने नाम अरू धेरै छन् । सबैको कामना हो, यसमा थप अरूको नाम जोड्न नपरोस् ।

गम्भीर असर
यो सबै कुरा सुन्दा अबको राष्ट्रिय टिमबाट कसले पो खेल्छ जस्तो लाग्न सक्छ । किरण लिम्बु, रोहित चन्द, सुजल श्रेष्ठ जस्ता केही नाममात्रले त नेपाली टिम बन्दैन । खासभन्दा यी खेलाडी पलायनको असर पक्कै गम्भीर रहनेछ । अझ यसको असर शृंखलाबद्ध हुनेछ । यसको पछिल्लो उदाहरण त आहा–रारा पोखरा गोल्डकपमै देखियो । त्यसै पनि पोखरालाई फुटबलको सहर भनिन्छ । कुनै दिन थिए, जतिबेला पोखरा रंगशालामा दर्शकको भिड लाग्थ्यो, सम्हाल्नै नसक्ने गरेर ।
भर्खर सकिएको प्रतियोगितामा हातैले दर्शक गन्न सकिने स्थिति थियो । केहीले भन्न सक्छ, प्रतियोगिता पुसको चिसो मौसममा भयो । अझ केहीले भन्न सक्छ, टिकट नै महँगो थियो । यी त क्षणिक कारणमात्र हुन् । सबैभन्दा ठूलो नेपालमा फुटबलको संस्कृति नै मर्दै छ । कोही पनि आफूलाई फुटबल मनपर्छ भनेर रंगशाला पुग्ने गर्दैनन् । यसका लागि फुटबल हेर्ने संस्कृति चाहिन्छ । जतिबेला नेपाली फुटबलमा केही नहुँदा बरू यो संस्कृति थियो, सबथोक छ भनेर दाबी हुँदा त्यही संस्कृति मर्दै छ ।
फुटबल मीठो हुन एक–दुई जना ठूलै स्टार चाहिन्छ । खेल जत्तिकै ठूलो व्यक्तित्व भएको खेलाडी नभई हुन्न । क्लब क्लबबीचको ऐतिहासिक प्रतिद्वन्द्विताले पनि काम गर्न सक्छ । यसअघि के कस्तो भएको थियो, त्यसको इतिहासले पनि ठूलो महत्त्व राख्छ । फुटबलको पनि आफ्नो साहित्य हुन्छ, जसले आम दर्शकलाई यो खेलप्रति जोडिरहने रहर बढाउँछ । यस्तो संस्कृतिका लागि चाहिने भनेकै फुटबलको सर्वोच्च निकायले नियमित प्रतियोगिता गर्न सक्नुपर्छ ।
प्रतियोगिता गरेर मात्र हुन्न, ती व्यवस्थित हुनुपर्छ । त्यसले फुटबलको मौलिक गुण आफूमा समाहित गरेर राखेको हुनुपर्छ । रेलिगेसनविनाको लिग कहिले हुन्छ र ? एन्फाले भन्थ्यो ‘हुन्छ’ । यस्तै लिग पनि गर्‍यो । हो, यस्तै यस्तै निर्णयले हो, फुटबल सस्तो हुने । फुटबललाई सस्तो बनाउन एन्फाले के कस्तो मात्र काम गरेन । त्यसको सूची बनाए लामै हुन्छ । पछिल्लो समय नेपाली फुटबलमा एकथोक मात्र भएको छ । त्यो हो, राजनीति ।

फुटबल होइन, राजनीतिमात्रै
त्यो पनि बेकम्मा राजनीति । इतिहासको एक मौलिक सिद्धान्त छ, कुनै घटना हुनु पछाडि एउटा निर्णायक तात्कालिक कारण हुन्छ । त्यसलाई सहयोग गरिररहने अन्य थुप्रै कारण हुन सक्छन् । अहिले खेलाडी पलायन हुनुको कारण तिनले खेलेर भविष्य नदेख्नु नै हो । प्रतियोगिता नै हुन्न, खेल्नै पाइन्न । खेलाडीका लागि योभन्दा ठूलो समस्या अरू के हुनसक्छ । यो स्थिति तयार हुनुमा अन्य कारणले पनि उत्तिकै भूमिका खेलिरहेको हुन्छ ।
यसमध्ये सबैभन्दा ठूलो कारण त नेपाली फुटबलले एक सबल नेतृत्व नपाउनु नै हो । अहिले जति छन्, विश्वास गर्न गाह्रो छ । फुटबलको प्राविधिक ज्ञानमा घनघोर कमजोर छन् । त्यसमाथि सबैको आ–आफ्नै स्वार्थ । एन्फाको व्यवस्थापक पक्ष निकै कमजोर छ । यसको सूची बनाउने हो भने जति खेलाडी अस्ट्रेलिया र अन्य मुलुक पलायन भएका छन्, त्योभन्दा कमजोरीकै सूची झन् लामो हुन्छ । यस्तै सूचीले त हो खेलाडीलाई विदेश पलायन गर्न बाध्य पार्ने ।
इतिहासको एउटा खुबै दोहोर्‍याएर भन्ने भनाइ छ, रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेका थिए । हाम्रोमा अहिलेको स्थिति भनेको फुटबल जलिरहँदा एन्फा बाँसुरी बजाइरहेको छ । त्यो रोमकै भनाइमा पनि केही के दाबी गर्छन् भने त्यो बेला सन् ६४ तिर रोममा बाँसुरी पुगेकै थिएन, निरोले कसरी त्यो बाजा प्रयोग गर्ने भनेकै छ । यो भनाइको मुख्य कुरा त भाव न हो । निरो इतिहासकै क्रूर शासक थिए, तिनलाई आफ्नो देशको मतलब नै थिएन ।
अहिले खेलाडी विदेश गए त गए, त्यो तिनको अधिकार हो, विमानस्थल गएर रोक्न सकिन्न भनेर चुपचाप रहनु भनेको एन्फालाई नेपाली फुटबलप्रति वास्ता छैन भन्नु नै हो । अहिले जति खेलाडी नेपालमै छन्, तिनीहरू पनि चर्को दबाबबाट गुज्रिइरहेका छन् । वास्तवमै एकपछि अर्को खेलाडी किन विदेश गए, त्यसको कारण खोज्नुपर्छ, सबै दृष्टिकोणले । अन्यथा नेपाली फुटबल एउटा ठूलो दुर्घटनामा पर्न सक्छ, जहाँबाट उम्कन निकै गाह्रो हुनेछ ।

खेलकुद

पदकमा पुष्पाको ह्याट्रिक

- ध्रुव तुलाधर

(काठमाडौं)
नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा लगातार पदक जितेर
ह्याट्रिक गरेकी छन् । ढाकामा शुक्रबार भएको ढाका म्याराथन २०२३ मा पुष्पाले स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामो उनको यो तेस्रो पदक हो । यसअघि सन् २०२१ मा स्वर्ण जितेकी पुष्पाले गत वर्ष २०२२ मा कांस्य जितेकी थिइन् ।
म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पाले २ घण्टा ४८ मिनेट ०२ सेकेन्डबाट स्वर्ण जितेकी हुन् । अघिल्लो दुई संस्करणमा भन्दा उनको यो टाइमिङ धेरै राम्रो हो । यद्यपि उनी
आफ्नो टाइमिङप्रति भने खुसी भइनन् । किनकि पुष्पाको लक्ष्य २ घण्टा ४६ मिनेटभित्र दुरी पार गर्ने थियो ।
उनले स्वर्ण जितेपछि ढाकाबाट कान्तिपुरसँग भनिन्, ‘स्वर्ण जित्दा एकदमै खुसी छु, त्यो पनि दोस्रोपल्ट जित्न सकें । तर, मेरो लक्ष्य २ घण्टा ४६ मिनेटमै दुरी पार गर्ने थियो । रुट अलि उकालो ओरालो भएकाले लक्ष्य पूरा गर्न सकिनँ ।’
उनले व्यक्तिगत टाइमिङ भने सुधार गरेकी छन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनबाट रजत पदक जित्दा उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड लगाएकी थिइन् । जुन राष्ट्रिय कीर्तिमान पनि हो । त्यसलाई सुधार्दै नयाँ कीर्तिमान राखेकामा भने पुष्पाले खुसी व्यक्त गरिन् । पहिलोपल्ट ढाकामा स्वर्ण जित्दा पुष्पाले २ घण्टा ५७ मिनेट ३५ सेकेन्ड लगाएकी थिइन् ।
एपीएफ क्लबबाट खेल्ने पुष्पाले नवौं राष्ट्रिय खेलकुदमा भने चोटका कारण बीचमै म्याराथन छाडेकी थिइन् । नवौं राष्ट्रियमा स्वर्ण जितेकी विन्द्राधान्के श्रेष्ठ भने ढाकामा कांस्य पदक जित्न सफल भइन् । ३७ वर्षीया धाविका विन्द्राले २ घण्टा ५२ मिनेट ३२ सेकेन्डमा दुरी पार गरेकी थिइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।उनीभन्दा अगाडि श्रीलंकाकी मधुमली परेरा २ घण्टा ४८ मिनेट २२ सेकेन्डकी रहिन् ।
पुष्पाले ५ लाख र विन्द्राले ३ लाख बंगलादेशी टाका पुरस्कार पाएका छन् । पुरुषतर्फ सहभागी नेपाली धावक सन्तोषविक्रम विष्ट भने चौथो स्थानमा रहे । दक्षिण एसियाली प्रतिस्पर्धामा भारतीय धावकले वर्चस्व राख्दा सन्तोषले २ घण्टा २४ मिनेट ०३ सेकेन्डमा दुरी पार गरेका थिए । पहिलो भएका भारतीय धावक विक्रम भरतसिं बंगरियाले २ घण्टा १८ मिनेट २८ सेकेन्डको टाइमिङ लिएका थिए । पुरुषतर्फ यसअघि किरणसिंह बोगटीले २०२१ र २०२२ मा प्रतिस्पर्धा गर्दा चौथो र पाँचौं स्थानमै रहेर दूरी टुंग्याएका थिए । यसपालि उनी सातौं स्थानमा पुगे ।
पुरुष हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कांस्य पदक जितेका छन् । १३ औं सागका स्वर्णधारी गोपीचन्द्रले १ घण्टा ६ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै कांस्य जिते । यस इभेन्टमा भारतका अभिषेक पालले १ घन्टा ५ मिनेट २९ सेकेन्डले स्वर्ण र गुल्भर सिंहले १ घन्टा ५ मिनेट ३३ सेकेन्डबाट रजत जितेका थिए । स्वर्ण र रजत जित्नेको भागमा २ र १ लाख ५० हजार टाका पर्दा गोपीले १ लाख टाँका पुरस्कार जितेका छन् ।
भारतीय खेलाडी हाबी भएको महिला हाफ म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ चौथो भइन् । राजपूरा पछाईं पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहे । ढाका म्याराथन र हाफ म्याराथनमा नेपालबाट यसपालि सबैभन्दा धेरै १० खेलाडीले सहभागिता जनाएका थिए ।

खेलकुद

एपीएफ स्तब्ध

- कान्तिपुर संवाददाता


इटहरी (कास)– प्रदेश १ ले शुक्रबार नेपाल एपीएफ क्लबको राजलाई ध्वस्त पार्दै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनल सुरक्षित गरेको छ । प्रदेश १ ले ८ विकेटले जित पाएको थियो ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको यस प्रदेशले फाइनलमा शनिबार सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । संगीता राई, एलिसा खडिया र सवनम राईले आपसमा ८ विकेट बाँडेपछि पहिलो ब्याटिङमा आएको एपीएफ १४ ओभर पनि पूरा टिक्न सकेनन् । ४५ रनमै अलआउट हुँदा कप्तान सीता रानामगरको खातामा रहेको १० रन नै ठूलो स्कोर थियो ।
४६ रनको लक्ष्यलाई प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कप्तान रुविनाले २३ बलमा ३ चौकासहित अविजित २० रन बनाइन् । नटआउट रहेकी अप्सरी बेगम र काजोल श्रेष्ठले समान ९ रन बनाए । ओपनर काजोललाई नेरी थापाले पेभेलियन पठाइन् ।
अर्को सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १ सय १४ रनले हराएको थियो । कविता कुँवरको ७० र विन्दु रावलको ६० रन मदतमा सुदूरले २ विकेटमा २ सय ८० रन बनायो । जवाफमा मधेसले ८ विकेट गुमाई ६६ रनमात्र बनाउन सक्यो ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


साफ च्याम्पियनसिप बंगलादेशमा
काठमाडौं (कास)– दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको अर्को संस्करण बंगलादेशमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता असार ५ देखि १८ सम्म हुने निर्णय गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार उक्त निर्णय अनुमोदन गरेको हो । अन्य सहभागी देशले यसअघि नै प्रतियोगिताको नयाँ आयोजनास्थल र समयबारे सहमति दिइसकेको थियो । नेपाल माल्दिभ्समा भएको पछिल्लो साफ च्याम्पियनसिप उपविजेता हो । यसबीच भारतमा हुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पनि नेपालले सहभागिता जनाउने छ । यसबारे थप जानकारी आउन बाँकी छ ।
खुमलटारविरुद्ध फ्रेन्ड्स भिड्ने
काठमाडौं (कास)– सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९ को पहिलो खेलमा फ्रेन्ड्सले नवप्रवेशी खुमलटार युवा क्लबको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पाँच चरणसम्मको खेल तालिका निकालेको हो । प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा फागुन १९ देखि सुरु हुँदै छ । पहिलो चरणमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रले जावलाखेल, पुलिसले चर्च ब्वाइज, एपीएफले थ्रीस्टार, मनाङले हिमालयन शेर्पा, आर्मीले संकटा र एनआरटीले सातदोबाटोको सामना गर्नेछन् । लिगका खेल दशरथ रंगशालासँगै च्यासल र एन्फा मैदानमा हुनेछ ।
रूपेशको एक्लो अग्रता
काठमाडौं (कास)– अन्नपूर्ण आरसीटी खुला फिडे रेटिङ चेसको तेस्रो दिन सातौं चरण सकिँदा फिडे मास्टर रुपेश जैसवालले एकल अग्रता लिएका छन् । उनको ७ अंक छ । रुपेशले छैटौंमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई हराए भने सातौंमा सुमन लामामाथि जित निकाले । फिडे मास्टर क्षितिज भण्डारीसँगै ६ अंकमा नेपाल च्याम्पियन पुरुषोत्तम चौलागार्इं, भगवतीप्रसाद शर्मा र सरोज महर्जन छन् । क्षितिजले सातौं चरणमा पूर्वनेपाल च्याम्पियन पुण्यमान कर्माचार्य र श्रीकृष्ण श्रेष्ठलाई हराए । सजिन महर्जन, राजीव कार्की र दीपक महर्जन समान ५ अंकमा छन् । महिलातर्फ विनिता कपाली ५ अंक जोडेर शीर्षस्थानमा छन् भने उनको पछाडि सिन्दिरा जोशी ४ अंकमा छन् ।
राजेन्द्रको जोडी फाइनलमा
काठमाडौं (कास)– नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी ओमान भइरहेको २० औं विश्व भेट्रान्स च्याम्पियनसिप टेबलटेनिस २०२३ को पुरुष डबल्स ४५ वर्षमाथि समूहमा भारतमाथि ३–२ को जित निकाल्दै फाइनल पुगेको छ । प्रशिक्षक अनिता महर्जनले जानकारी गराएअनुसार उनीहरूको जोडीले भारतीय पीयूष दुवा र महेश चन्द्रलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित हराए ।
सदस्यसचिवसँग सोतोकान टोली
काठमाडौं (कास)– भारतको कोलकातामा भएको ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा नेपाली टोली च्याम्पियन बन्न भएको छ । नेपाली खेलाडीले २१ स्वर्ण, १२ रजत र ७ कांस्य पदकसहित टिमको ट्रफी उचालेका थिए । उक्त टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले भेटेर हौसला बढाएका छन् । नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव श्याम शेर्पाले प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटानका करिब ७ सय खेलाडी प्रतिस्पर्धी थिए ।

 

Page 9
कोसेली

एक झिल्को आगो, एक भव्य सभ्यता

- सुरेश ढकाल

मान्छेको कथाको अहं र अभिन्न कथांश हो– पृथ्वीमा आगोको यात्रा । न्यानो र उज्यालोको भरपर्दो स्रोत आगोले मान्छेको सांस्कृतिक उद्विकासमा लाखौं वर्षदेखि आकार दिँदै आएको छ । मान्छेका आदिपुर्खाले कहिलेदेखि आगो प्रयोग गर्न थाले ? कहिलेदेखि आगो बनाउन सिके ? आगो कसरी आविष्कार गरे ? यसको तिथिमिति ठ्याक्कै भन्न त सकिन्न, तर आगोको यात्रा–कथाले मानवजातिको सभ्यता र सांस्कृतिक विकासको महत्त्वपूर्ण कहानी बताउन सक्छ ।
आगो प्रयोगको उत्कर्ष थियो मान्छेले खाना पकाएर खान थाल्नु । आज संसारभरका मान्छेको मुख्य भरपर्दो खाना गहुँ, चामल वा आलु आगोमा पकाएकै कारण खान सम्भव भएको थियो, अन्यथा ती अनाज तिनको प्राकृतिक स्वरूपमै खान सम्भव थिएन । आगोको प्रयोगले नै मानिस र अन्य जनावरबीचको भिन्नताका खाडल झनै फराकिलो बन्दै गएको थियो ।
हाम्रो आफ्नै अनुभवले भन्छ, ठिहिर्‍याउँदो जाडोमा आगो ताप्नुको आनन्दानुभूति कति
हुन्छ ! यो चिसो माघमा म सम्झिरहेको छु– हामी हुर्कंदै गर्दाका हिउँदका ती चिसा दिन, जतिबेला हाम्रा लागि आगो ताप्नुको विकल्पै थिएन । आगो ताप्नुजस्तो मज्जा जीवनमा अर्को थिएन । हिमालदेखि तराईसम्मै आगो ताप्नु आनन्दको कर्म हो, कतिपयका निम्ति ज्यान जोगाउने उपाय । यसरी आगो ताप्नुका पछाडि समय–स्थान विशेषका अनगिन्ती कथा हुन्छन्, तिनका सामाजिक आयाम हुन्छन् ।
लोकोक्ति र साहित्यको पनि शक्तिशाली, बहुलअर्थी विम्ब हो— आगो । र, हो आज पनि मानव सभ्यताको अभिन्न अवयव । मान्छे र आगोको अन्तरसम्बन्ध सधैं एकनास रहेन, तर जहिल्यै महत्त्वपूर्ण रह्यो । एक मानवशास्त्रीले भन्न रुचाउने आगोका अनेकन् कथामध्ये केही झिल्का सुनाउने प्रयास यहाँ गरिएको छ ।

अजम्बरी आगो
तीन दशकअघि । मानवशास्त्र स्नातकोत्तर तहको शोधपत्रका लागि अनुसन्धान गर्न पूर्वी नवलपरासीको पहाडस्थित एक मगर गाउँमा थिएँ म । तनहुँतिरबाट जाँदा कालीगण्डकी तरेर झन्डै एक–डेढ घण्टा उकालो चढेपछि पुगिने त्यो गाउँ त्यतिबेला विकटै थियो । कालीगण्डकी छेउछाउचाहिँ दराई र कुमालका बस्तीहरू थिए । बेलाबखत म स्थानीय साथीहरूको साथ लागेर दराई गाउँ झर्थें । उनीहरू भन्थे– दराईगाउँको जाँड मीठो हुन्छ । जाँडको स्वाद र गुणको परख गर्ने सवालमा मगरहरू आधिकारिक लाग्छन् । दराईहरूको मुना अर्थात् जाँड बनाउने विधि र सीप विशिष्ट हुन्छ । त्यो उनीहरूको सांस्कृतिक पुँजी हो ।
त्यो वैशाख १ गतेको दिन थियो, विद्यालय बिदा थियो । केही शिक्षकका साथ लागेर म झरें दराई गाउँ । उद्देश्य सरल थियो– मीठो जाँड खाएर नयाँ वर्ष मनाउने । तर, त्यस दिन हामीले जाँड खान त पाएनौं नै, उनीहरूका घरको पिँढीमा समेत टेक्न पाएनौं । कारण थियो– उनीहरू कुनै पर्व वा उत्सवको तयारीमा थिए । घर–आँगन लिपपोत गरि सफा र चिटिक्क पारिएको थियो । हिउँदभरि खोजेर जम्मा परिएको दाउरा कलात्मक ढंगले चाङ लगाएर राखिएको थियो आँगनको एक कुनामा । परिवारका सदस्य कुनै न कुनै काममा लागिरहेकै थिए । उनीहरू खासमा नयाँ वर्षमा नयाँ आगो पार्ने उत्सवको तयारी गर्दै थिए ।
दराईहरू नयाँ वर्षका दिन नयाँ आगो बनाउँछन् अर्थात् नयाँ वर्ष नयाँ आगोसँग सुरु गर्नुपर्छ । अघिल्लो दिन नै उनीहरू वर्षैभरि अँगेनोमा जोगाएर राखिएको आगो निभाउँछन् । अँगेना, चुला सफा गर्छन्, घर–आँगन लिपपोत गर्छन् र नयाँ वर्षको दिन नयाँ आगो बनाउँछन् । उनीहरूको मान्यता हुन्छ– अँगेनामा आगो मर्नु हुन्न, त्यो निरन्तर बलिरहनुपर्छ । सोहीअनुरूप दराईहरूका अगेनामा नित्य आगो बलिरहन्छ र त्यसैबाट दैनिक आगो सल्काइन्छ । नयाँ वर्षको पहिलो दिन सल्काइने नयाँ आगो शमीको काठका कप्टेरामा बनाइन्छ । काठको कप्टेरामा अर्को दह्रो काठको झीरले प्वाल पार्न खोजेझैं या मोही पार्दा ठेकीमा मदानी घुमाएझैं घुमाई घुमाई आगोको झिल्का निकालेर उनीहरू आगो सल्काउँछन् । उनीहरूको विश्वास छ– त्यस्तो आगो पवित्र हुन्छ र वर्षैभर त्यो झिल्को मर्नु हुन्न ।
यो एक प्रतिनिधि दृष्टान्त मात्रै हो । नयाँ आगो बनाउने यस्तो संस्कार अन्य संस्कृति र समुदायमा पनि छ, थियो । अँगेनामा आगो निभ्नु हुन्न भन्ने त आम प्रचलनै हो । यो नेपालमा मात्रै होइन संसारका अधिकांश समुदायमा प्रचलनमा छ, थियो । यो प्रचलन आगो जोगाउने आदिम पुर्खाहरूको ज्ञान र व्यवहारको निरन्तरता हो, जसले आगोको प्रयोग र उपयोग त थाहा पाए, तर आगो बनाउन भने जानेका थिएनन् वा आगो बनाउनु उनीहरूका लागि कष्टसाध्य काम थियो ।

आगो जोगाउनेहरू, आगो बनाउनेहरू
मान्छेका आदिम पुर्खाले जतिबेला आगोसँग साक्षात्कार गरे, त्यतिबेला उनीहरू आगोबारे अनभिज्ञ थिए । आगो के हो ? कसरी बन्छ ? कहाँबाट आउँछ ? यी प्रश्नका कुनै उत्तर थिएनन् हाम्रा पुर्खासँग । उनीहरूका लागि भयंकर रहस्य थियो आगो । आगोसँगको साक्षात्कार र रहस्यका लाखौं वर्षपछि मात्रै हाम्रा पुर्खाले आगोबारे केही भेउ पाए, खासगरी यसको उपयोगिताबारे । आगो बनाउनु वशको विषय थिएन, तर उनीहरूले प्रकृतिमा भएको आगोलाई आफ्नो वशमा पार्ने प्रयास गरे । र, कालान्तरमा सफल भए । यसरी आगो नियन्त्रण गर्न जानेको अरू केही लाख वर्षपछि मात्रै हाम्रा आदिपुर्खाले आगो बनाउने ज्ञान सिकेका थिए । आगो बनाउने तिनै विविध विधि आज पनि विश्वका अनेकन् कुनामा (खासगरी दूरदराजमा बसोबास गरिरहेका समुदायमा) निरन्तर प्रचलनमा छन् ।
गाउँघरतिर आजपर्यन्त केही बूढापाकाले झुरो–चकमकबाट चुरोट, सुल्पा सल्काएको हामीले देखेकै छौं । किट/फलाम वा कडा चट्टानको टुक्रामा केही झुरो, जुट, नरिवल वा कपडाका रेसा राखेर चट्टानको टुक्राले जोडले हानेर आगो पार्ने विधि प्राचीनतममध्ये एक हो ।
यज्ञ–यज्ञादिमा शमीका काठको घर्षणले आगो निकाल्ने चलन आजपर्यन्त छ । प्रायः काठको सुकेको कप्टेरामा अर्को काठले जोडसँग घर्षण गराउने या काठको सुइरोले ड्रिल गरेझैं आगो उत्पन्न गर्ने विधि पनि आम रूपमा प्रचलनमा छ ।
प्रागऐतिहासिककालकै निरन्तरताजस्तो लाग्ने, खेतीपातीको अभ्यासमा समेत नभएका समुदायको मानवशास्त्रीय र पुरातात्त्विक अवशेषको अध्ययनको आधारमा आगो आविष्कारका यस्ता विधिबारे जान्न सकिएको हो । उनीहरूले प्रकृतिमा विभिन्न कारणले सिर्जित आगोलाई नियन्त्रण गर्न जाने र आगो बाल्ने अनेक कोसिस गरिरहे । प्रकृति नै उनीहरूको गुरु थियो ।
प्रकृतिमा अनेक कारण आगो वा डढेलो लागेको हुन सक्थ्यो । डढेलो लागेर बासस्थान वा सिकार गर्ने जंगल मासिँदा कतिपय समयमा हाम्रा पुर्खासमेत आगोले जलेर मरे होलान् । कत्ति भागेर जोगिए । उनीहरूको फिरन्ते सिकारी जीवन अस्तव्यस्त बन्यो । जब उनीहरू सिकार गर्न जंगल जान सकेनन् वा जंगलका जनावर डढेलोमा परेर मरे, बाध्य भएर उनीहरूले जलेका जनावरका मासु खाए । र, त्यो मासु झनै स्वादिलो पाए । त्यसैले पनि आगो नियन्त्रण गर्ने अनेक जुक्ति गरे । जब नियन्त्रण गरे, त्यस दिनदेखि मान्छेको सबैभन्दा भरपर्दो र उपयोगी साथी नै आगो बन्यो ।
मासु पोलेर खान, क्रमशः पकाएर खान आगो उपयोगी भयो । मानव
उद्विकासका क्रममा आगोको भूमिका कति महत्त्वपूर्ण थियो भने आगोमा पोलेपछि मासुमा भएका जीवाणु मर्थे र धेरै दिनसम्म पनि मासु जोगाउन सकिन्थ्यो । बासस्थान वरिपरि न्यानो पार्न, राति हिँडडुल गर्न आगो सहयोगी हुन्थ्यो । जंगली जनावरलाई आगोको लप्का देखाएर भगाउन सकिन्थ्यो । नवपाषाणकालीन युगमा आएपछि मान्छेले आगो लगाएर जंगलको जमिनलाई खेतीयोग्य बनाउन थाले । मान्छेको शारीरिक–जैविक र सामाजिक–सांस्कृतिक रूपान्तरण गरेको छ आगोले । ढुंगा, बाँस, धातु तताएर कडा बनाउने, त्यसलाई पिटेर उपयुक्त आकारमा ढाल्ने कला र पोलेर माटाका भाँडा बनाउने सीपले मानव सभ्यताको निर्माण र उद्विकासमा अहं भूमिका निर्वाह गरेको थियो । आगोको सहायताले मान्छेले प्रकृतिका कतिपय प्रतिकूलतामाथि विजय हासिल गरेका छन् । आगोकै कारण मान्छेले प्रकृतिलाई समेत कज्याउन सक्ने भए, प्रकृतिलाई बदल्न सक्ने भए ।
आफूलाई न्यानो राख्न र खाने कुरा पकाउन आगोवरिपरि बस्ने प्राचीन परम्परा महत्त्वपूर्ण साबित भएको छ । कालान्तरमा थुप्रै पर्व, उत्सव, संस्कार आगोवरिपरि सम्पन्न गर्न थालियो, जसको जग प्रागइतिहासकालमै बसेको थियो भन्न सकिन्छ ।
पक्कै अद्भुत हुँदो हो हिंस्रक जनावरबाट त्रसित मानव पुर्खाले आगोको सहयोगमा तिनै भयंकर जनवरलाई तर्साउँदै, लखट्दै गरेको दृश्य । कति सुन्दर दृश्य निर्माण भएको थियो होला त्यो, जब सिकारी झुन्डहरू आगोको उज्यालोको सहारामा अन्धकार घना जंगलमा यात्रा गरिरहेका हुन्थे । कम्ता रोमाञ्चक थिएन होला सिकार गरेर ल्याएको जनावर आगोमा पोल्दै, आगोवरिपरि नाच्दै, गाउँदै पोलेका मासु खाँदाको दृश्य । जब आगोमाथि हाम्रा आदिम पुर्खाले प्रभुत्व जमाए तब उनीहरूको जिन्दगीमा राप र रोमाञ्चकता थपियो । आगोले मान्छे र प्रकृति, जीवन र जगत्प्रतिको सम्बन्ध र दृष्टिकोण पनि फेरिदियो । आगोबाट प्राप्त प्रकाश र ताप सभ्यता अघि बढाउने शक्ति र आधार बन्यो ।

प्रकृतिमा आगो
यो लेख पढिरहनुभएका तपाईंमध्ये कतिले विद्यालयमा झ्यालबाट छिरेको घामको किरणमार्फत ‘आइग्लास’ को सहायताले साथीहरूको लुगा वा कपाल डढाउनुभएको थियो होला, साना कागजका टुक्रामा प्रकाश पारेर आगो बाल्नुभएको थियो होला । त्यस्तै घना जंगलहरूमा पातको टुप्पाबाट पानी वा शीतको थोपा चुहिन लाग्दाको समय निश्चित कोणमा घामको किरण पर्दा निश्चित दूरीको सुकेको घाँस, पत्करमा आगो लाग्न सक्छ । जसरी आइग्लास (म्याग्निफाइङ ग्लास, कन्भेक्स लेन्स) ले घामको प्रकाशलाई एकत्रित गरि ताप सिर्जना गर्छ, त्यसैगरी शीतको थोपाले गर्छ ।
तर, प्रकृतिमा आगो लाग्ने प्रमुख कारण अरू नै छन् ।
चट्याङ पर्दा निस्केको आगो फैलिएर प्रकृतिमा आगो अस्तित्वमा आउन सक्थ्यो । प्राकृतिक आगोको प्रमुख कारण थियो– चट्याङ । अध्ययनहरूले भन्छन्– आज पनि विश्वका ठूला जंगलहरूमा लाग्ने डढेलोको प्रमुख कारण चट्याङ नै हो, जुन मान्छेका कारण लाग्ने डढेलोभन्दा धेरै बढी छ ।
त्यस्तै पृथ्वीका अनेकौं स्थानमा नियमित फुट्ने ज्वालामुखी र त्यसबाट निस्कने अत्यधिक तापसहितको लाभाले डढेलो सल्काउने सम्भवाना नियमितजस्तै हुन्थ्यो— प्रकृतिमा आगोको यो अर्को नियमित स्रोत थियो । संयुक्त राज्यको भूभौगर्भिक सर्भेका अनुसार, अहिले पनि १३५० सशक्त सक्रिय ज्वालामुखी अस्तित्वमा छन्, जो कतिपय क्षेत्रमा डढेलोका कारण बन्ने गरेका छन् ।
आगो लाग्नुका केही अन्य कारण पनि छन् । जस्तो सुक्खा याममा हावाहुरी लाग्ने समयमा हुर्केका बाँसहरू एकआपसमा नियमित घर्षण हुँदाको तापले पनि आगो निस्केको हुन सक्छ ।
यसरी प्रकृतिमा विभिन्न कारण अस्तित्वमा आएको आगो संयोगले जुरेको अवसरमा मात्रै मान्छेले प्रयोग गर्न सक्थे, तर उनीहरूलाई आगो बनाउने ज्ञान थिएन । यद्यपि आगोबारे धारणा बनाउन सक्ने सज्ञानात्मक क्षमताले नै प्रकृतिमा उपलब्ध आगोलाई मान्छेले तह लगाए । र, मान्छे बन्यो आगोको आविष्कारक ।

आगोको आदिम कथा
करिब २० लाख वर्षदेखि मान्छे र आगोले सँगसँगै यात्रा गरेका छन् । आदिम पुर्खाको क्रमिक जैविक एवं सांस्कृतिक विकासको परिर्वतनमा आगोले उल्लेखनीय भूमिका खेलेको छ । ८ घण्टा जागा बस्ने मान्छे अब १६ घण्टासम्म जागा बस्न सक्ने भएको छ । जबकि अन्य आद्य नर–वानर (प्राइमेट) हरू उज्यालोसँगै ब्युँझन्थे र रात परेपछि सुत्थे । मान्छेको सामाजिक गतिविधिको समय
बढ्यो, संस्कृतिमा अनेक परिवर्तन सम्भव हुँदै गए । आगोको सहाराले नै मान्छेले आफूलाई प्रकृतिमा अनुकूलन मात्रै गराएन प्रकृतिमाथि नै हावी भयो । मान्छेले घाम, पानी र शत्रुबाट सुरक्षित ठानिने गुफामा बस्ने हिंस्रक जंगली जनावरलाई आगोको सहायताले विस्थापित गर्‍यो, ती ठाउँमाथि कब्जा जमायो ।
पुरातात्त्विक–मानवशास्त्रीका अनुसार, आगो प्रयोगको पहिलो प्रमाण प्राचीन ढुंगेयुग अर्थात् पुरापाषाणकालमा होमो इरेक्टस अर्थात् दुईखुट्टाले सीधा उभिन सक्ने मानवजातिको पहिलो पुर्खाहरूले गरेको भेटिन्छ । मानव गतिविधिसँग सम्बन्धित आगो प्रयोगको हालसम्म प्राप्त प्रथम प्रमाण उत्तरी केन्याको तुर्काना ताल क्षेत्रको ओल्डोवान होमिनिडको अवशेष उत्खनन क्षेत्रमा भेटिएको थियो । उक्त ताल नजिकै अर्को प्राग्मानवहरूको बासस्थान भएको कोवी फोराको उत्खनन क्षेत्रमा आगोको असरका प्रमाण भेटिएको थियो, जुन केही पुरातत्त्वविद्का अनुसार आगोको नियन्त्रित प्रयोगको निसानी थियो । त्यस्तै मध्यकेन्याको चेसोवान्जाको उत्खनन–स्थलमा पनि आगोलो पोलिएका माटाका चट्टानका टुक्राजस्ता वस्तुहरू छरिएको भेटिएको थियो, जुन चौध लाख वर्ष पुरानो भएको अनुमान छ । त्यस्तै दक्षिण अफ्रिकाको मोन्टागु गुफा, स्वार्तक्रान्स गुफामा डढेका हाडजस्ता प्रमाण भेटिएका थिए, जसले आगोको नियन्त्रित प्रयोगको संकेत गर्थे ।
अन्य केही अफ्रिकी पुरापाषाणकालीन उत्खनन–स्थलहरूमा आगो प्रयोगका केही सम्भावित प्रमाण (डढेको चट्टान, डढेका हाडका टुक्रा र खरानी) भेटिएका छन् । यी प्रमाणले भन्छन्– करिब १५ लाख वर्षअघि आगोको उद्देश्यमूलक प्रयोग भएको हुन सक्थ्यो । अफ्रिकी महादेशभन्दा बाहिर पुरापाषाणकालीन केही अवशेष भेटिएका छन्, जसले आगोको नियन्त्रित प्रयोगको संकेत गर्न सक्थे, जुन अफ्रिकी प्रमाणभन्दा पछिल्ला थिए । जस्तै इजरायलको एक गुफा र उत्खनन–स्थलमा डढेका काठ, वनस्पतिका बीज आदि फेला परेका थिए । ती वस्तु करिब सात लाख ९० हजार वर्ष पुराना थिए भन्ने अनुमान छ ।
यस सम्बन्धमा सबैभन्दा प्रख्यात उत्खनन–स्थल उत्तरी चीनको चाउकोडियन गुफा हो, जहाँ आगोको नियन्त्रित र नियमित प्रयोगका सबैभन्दा स्पष्ट संकेत फेला परेका थिए । पेकिङ मानव भनिने होमो इरेक्टस पेकेनेन्सिसले रजाइँ गरेको थियो त्यस क्षेत्रमा । सन् १९१८ मा प्रथमपटक पुरातात्त्विक उत्खनन भएदेखि नै त्यस क्षेत्र मानवशास्त्री र पुरातत्त्वविद्का लागि होमो इरेक्टसको अध्ययन केन्द्र बनेको छ । त्यहाँ प्राप्त आगो प्रयोगका अवशेषहरू करिब सात लाख ७० हजार वर्ष पहिलेको हुन सक्ने अनुमान छ । होमो इरेक्टसमाथिको अध्ययनमा संलग्न चिनियाँ र अमेरिकी अनुसन्धानकर्ताको ‘नेचर पत्रिका’
(२००९) मा छापिएको एक अनुसन्धानात्मक लेखका अनुसार, अफ्रिकाबाट बसाइँ सरेर चीन पुगेका पहिलो मूलका थिए ती होमो इरेक्टस । त्यति नै पुराना थिए आगोको प्रारम्भिक प्रयोगकर्तामध्येकै ठानिने इन्डोनेसियन प्रायद्वीप, जाभामा भेटिएका जाभा मानव भनिने एन्थ्रोपोपिथेकस इरेक्टस (होमो इरेक्टस) । केही मानवशास्त्री ठान्छन्– आगोको सहायताले नै मान्छेका आदि पुर्खालाई अफ्रिकाबाट बाहिरी संसारमा विचरण गर्न र नयाँ भूभाग आवाद गर्न मद्दत पुगेको थियो ।
पुराना प्रमाण सांकेतिक त हुन् । तर, मानवशास्त्रीहरूको मत छ– करिब चारदेखि तीन लाख वर्षयता मान्छेले आगोको नियमित उपयोग गरे । आगोको नियन्त्रित प्रयोगको अप्रत्यक्ष प्रमाणका आधारमा पनि यस्तो अनुमान गरिएका हुन् । जस्तै तुलनात्मक रूपमा होमो इरेक्टसका मुख र दाँत साना थिए । नियमित वा मौसमी रूपमा चिसो क्षेत्रमा बस्न सक्ने उनीहरूको क्षमता, रातमा पनि जागा बस्नेजस्ता चरित्र पकाएको, नरम र सहजै पच्ने खाना र आगोको प्रयोगबाट मात्रै सम्भव हुन सक्थ्यो । यस्ता अप्रत्यक्ष प्रमाणले पनि आगोको नियमित र नियन्त्रित प्रयोग हुन्थ्यो भन्ने पुष्टि गर्थे । तर, उनीहरू आगोको उपयोगकर्ता मात्रै थिए न कि आगोका आविष्कारक । प्रकृतिमा भएको आगोको नियन्त्रित उपयोग गर्न सक्नु र आगो बाल्न जान्नुलाई मानवशास्त्रीहरू मान्छेको एक महत्त्वपूर्ण आधारभूत आविष्कारै मान्छन् । आगो बनाउन सक्ने ज्ञान यसर्थ पनि जननी आविष्कार थियो । आगोमाथि नियन्त्रण पाइसकेपछि मान्छेले अनेकौं आविष्कार र सफलता हासिल गरेको थियो । आगोले उसलाई अझै उन्नत मात्रै बनाएन कि मानव सभ्यता निर्माणमै निकै महत्त्वपूर्ण भूमिका खेल्यो ।

पवित्र आगो
मध्यपुरापाषाणकाल (करिब दुई लाखदेखि ४० हजार वर्षको अवधि) का पुरातात्त्विक उत्खननका क्षेत्रहरूमा होमो इरेक्टस, नियान्डरथल र होमो सापियन्सका पुर्खाले निश्चित स्थानमा नियमित आगो बाल्थे भन्ने प्रमाण भेटिएका छन् । खासगरी वरिपरि ढुंगाले घेरेर निश्चित स्थानमा आगो बाल्ने प्रचलनले चुल्हो या अगेनाको प्रारूप दर्साउँछ । अफ्रिका, पश्चिम एसिया, युरोपमा त्यस समयका यस्ता चुल्हा या अगेना धेरै भेटिएका छन् । ४० हजार वर्षयता अर्थात् उत्तर पुरापाषाणकालमा चाहिँ वरिपरि ढुंगाले घेरेका, कतैकतै माटाका डोम संरचनामा चुल्हाहरू बनाइन्थे भन्ने प्रमाण भेटिएका छन् । आगोको नियमित प्रयोग बासस्थान न्यानो राख्न, खानेकुरा पकाउन र कहिलेकाहीँ माटाका साना भाँडा वा मूर्तिहरू पोल्न पनि भएको हुन सक्थ्यो । स्थानविशेषमा गरिएको आगोको नियमित प्रयोग वा चुल्हो सभ्यताको विकासले स्थायी बसोबास र परिवार संस्थाको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको छ । आहानै छ– जहाँ चुल्हो त्यहीँ घर । त्यसै समयदेखि चलेको हुनुपर्छ चुल्हो वा अँगेनावरिफरि बसेर सामाजिक अन्तर्त्रिया गर्ने परम्परा । यस्तो परम्परा आजसम्मै गाउँघरमा जीवित छ । यसर्थ आगो बालिने ठाउँ, चुल्हो, अगेना, घुर, अग्निक्रीडा, धुनी, यज्ञ–होम आदि सम्भवतः त्यस्तो प्राचीन सामाजिकस्थल बन्न पुग्यो, जहाँ विझिन्न व्यक्ति जम्मा हुन्थे र अन्तर्त्रिmया गर्थे । यस्तो निरन्तरको अन्तर्त्रियाले सामाजिक सम्बन्ध मजबुत बनाउँथ्यो र ज्ञानको पुस्तान्तरण गराउँथ्यो ।
आज पनि घरको शुद्ध वा पवित्र स्थान मानिन्छ– चुल्हो । चुल्होमा पूजासमेत गरिन्छ । अनेकौं संस्कार र अनुष्ठान आगोको महत्त्वलाई स्थापित गर्दै सुरु भएका थिए, जुन आजपर्यन्त निरन्तर छ ।

आगो, प्रविधि र सभ्यता
मानव पुर्खाको सबैभन्दा पुरानो प्रविधि साबित भयो– आगो । र, आगोको विविध उपयोगले नै मान्छेलाई आजको मान्छे बनायो । मानवशास्त्री र्‍याडक्लिफ ब्राउन लेख्छन्, ‘अन्डामन द्वीपका बासिन्दाको विश्वास थियो– आगोको आधिपत्यका कारण नै मान्छे मान्छे बनेको हो र अरू जनावरभन्दा फरक हुन सम्भव भएको हो ।’ सम्भवतः विश्वका अन्य समुदायमा पनि त्यस्तो विश्वास परम्परा छँदै छ ।
मानव सभ्यता र सांस्कृितक उद्विकासका क्रममा ३ घटना महत्त्वपूर्ण मानिन्छन्, जो आगोकै कारण सम्भव भएका थिए ।
१. २० हजार वर्षदेखि आगोमा पोलिएका माटाका भाँडाको निर्माण र उपयोग सुरु हुनु, जुन करिब १४ हजार वर्षदेखि व्यापक बन्यो । आगोमा पोलिएको माटाका भाँडाको घरायसी उपयोग मात्रै हुँदैनथ्यो, त्यतिबेलाको राजनीतिक, सामाजिक पहिचानका प्रतीक थिए ती । माटाका भाँडा प्राचीनतम विनिमयका वस्तुमध्ये एक थिए, जसको पुरातात्त्विक अवशेषको सहारामा प्रागऐतिहासिक मान्छेका गतिविधि, बसाइँसराइ र सम्बन्धको फैलावटबारे थाहा लागेका छन् ।
२. १० हजार वर्षअघि खेतीपाती र स्थायी बसोबासको सुरुवात, जसले मानव सभ्यताको पछिल्लो जग खडा गरेको थियो । खोरिया खेती (खेती प्रणालीको आदिम स्वरूप) गर्ने मान्छेले आगोको विवेकपूर्ण प्रयोग र व्यवस्थापन गर्थे । यी केही उदाहरणले पुर्ख्यौली ज्ञानको गहनतातर्फ संकेत गर्छन् । मैले गरेका अनुसन्धानको आधारमा पनि भन्न सकिने केही तथ्य यस्ता छन्– कुन समय खोरिया खेती गर्ने स्थानमा आगो लगाउने ? कुन याममा आगोको गतिविधि वर्जित गर्ने ? खेती गरिने जमिनभन्दा पर डढेलो फैलिन नदिन कसरी अग्निरेखा स्थापना गर्ने ? कसरी एकै दिन र एकै समयमा आगो लगाउने ? खोरिया खेती गर्ने किसानलाई यी सबैको ज्ञान हुन्छ । आगोमा परी कीरा, फट्यांग्रालगायत जीवजन्तु डढेर मरेका हुन सक्ने भएकाले उनीहरू प्रायश्चित्त गर्छन् । र, आगो लगाउनुपूर्व र लगाएपछि क्षमायाचनासहित देवतासँग माफी माग्दै बत्ती बाल्छन् । यसले खेतीपाती र आगोसँग सम्बन्धित पुरातन ज्ञानको सम्बन्ध दर्साउँछ ।
खेतीपाती र पाक परम्पराले खानेकुरा विविधीकरण गर्‍यो । तिनको भौतिक र रासायनिक चरित्र बदलिदियो । अनि मानव स्वास्थ्य र जैविक विकासक्रम नै फेरियो ।
३. पाँच हजार वर्षयता धातु, क्रमशः तामा, काँस र फलामको उपयोगले औद्योगिकीकरणको प्रारम्भिक जग बसालेको थियो । आगोको प्रविधिले नै कुनै धातुको टुक्रालाई उपयोगी हतियार बनाउन सम्भव भयो । हतियार बनाउने प्रविधिको राजनीतिक, सामाजिक र प्राविधिक महत्त्व हुने नै भयो । धातुका हतियारले नै तत्कालीन साम्राज्यहरू खडा गर्न मद्दत पुर्‍याएको थियो । भनिन्छ– रोमन साम्राज्य शक्तिशाली हुनुमा फलामे हतियार र प्रविधि नै मुख्य थियो । धातुका सामानहरू महत्त्वपूर्ण प्रागऐतिहासिक व्यापारका वस्तु थिए । तसर्थ धातुका कालिगडको सामाजिक प्रतिष्ठा पनि सोहीअनुरूप हुने गर्थ्यो ।
धातु–युगअघि पनि सिकारी–युगका फिरन्तेहरू आगो उपयोग गर्थे– काठको हतियार कडा, तिखो र चोटिलो बनाउन । ग्रीक मिथकअनुसार, हेफिस्थसलाई धातु प्रविधिका ज्ञाता मानिन्छ, जसलाई कालिगडका संरक्षक पनि भनिन्छ । उनलाई आगोको देवता मानिन्छ । हिन्दु धर्मले पञ्चमहाभूत या पञ्चतत्त्व (आकाश, वायु, जल, पृथ्वी र अग्नि) बाट विराट ब्रह्माण्ड सिर्जना भयो भन्छ, त्यहाँ आगोको महत्त्वपूर्ण स्थान हुन्छ । आगोका देवतालाई पुजिन्छ, जो इन्द्रका जुम्ल्याहा भाइ र उनीपछिका महत्त्वपूर्ण देवता मानिन्छन् । आगोसँग सम्बन्धित यस्ता अनेक सर्वलौकिक मिथक अस्तित्वमा छन् ।
आगो शक्तिको त्यो स्रोत थियो, जसले पृथ्वीमा मान्छेको आजसम्मको यात्रामा असाध्यै महत्त्वपूर्ण भूमिका निभायो । तपाई आफैं कल्पना गर्नुहोस् त, के हुन्थ्यो होला— यदि पृथ्वीमा आगो नभइदिएको भए ?

 

Page 10
कोसेली

चुल्होमा आगो जोगाउने चिन्ता

- चन्द्रकिशोर

यस्तै पुस–माघको जाडो याम थियो त्यो । आमा मेरो घाँटीमा गाँती बाँधेर मलाई दलानमा पठाउनुहुन्थ्यो । दलानमा थुप्रै मान्छे घुर तापिरहेका हुन्थे । गाँती चिसोका बेला बच्चाहरूको घाँटीमा बाँध्ने वा ओढ्ने कपडा हो, जसले टाउकोदेखि खुट्टासम्म छोप्छ । गाँती कुनै हाट बजारमा भेटिँदैनथ्यो । केवल यसलाई बाँध्ने कला सिक्नुपर्थ्यो । गाँती बनाउन हजुरबुवाको कुनै पुरानो धोती वा गम्छा, आमाको पुरानो साडी वा सल प्रयोग हुन्थ्यो । टाउकोमा गाँती लपेटिदिएपछि त्यसको दुइटै छोरलाई गर्दनमा बाँधिन्थ्यो र कपडालाई देहको चारैतिर झुन्ड्याइन्थ्यो । बच्चाहरूका लागि गाँती सर्दीबाट जोगिने न्यानो कपडा मात्रै थिएन, त्यसमा आमा, फुपू वा बज्यैको दुलार, बात्सल्य र चिन्ता पनि गुजुमुटिएको हुन्थ्यो ।
त्यही घुर ताप्दै नचारी–पराती, किस्सा कहानी सुन्थ्यौं हामी । बाजेले सुनाएको एउटा लोककथा आजसम्मै सम्झना छ । कुनै रूखमाथि अनेकौं चराचुरुंगी बस्थे । त्यो रूखमा कुनै कारणले आगो लाग्यो । छेउबाट हिँडिरहेका बटुवाले हेरे कि जल्दै गरेको रूखमा चराहरू निश्चिन्त भावले बसिरहेका छन् । तब बटुवाले रूखमा रहेका चराहरूलाई सोधे–
‘आग लागल एहि गाछि के
जरे लागल डांढ– पात
तू काहे जरै छा, चिरैसभ
पांख हवो तोरा साथ ?’
(रूखमा आगो लागिरहेको छ, पात र हाँगा जल्न थाले । तर, ए चराहरू तिमीहरू किन जल्दै छौ ? प्वाँख तिमीहरूसँग छँदैछ !)
यो प्रश्न सुनेर चराहरूले जवाफ फर्काए–
‘फल खइलि एहि बृक्ष के
गंदा कैलि पात
ईहे हय धर्म हमर
हम जरब एकरे साथ ।’
(फल खाएँ यही रूखको, फोहोर गरें पातहरू । त्यसैले मेरो धर्म हो कि म जलौं यसैसाथ ।)
मातृभूमिका लागि आत्मोसर्गको भावना यस कथाबाट, जुन सिकाइएको थियो त्यसको अनुगुन्ज अझै पनि पटक–पटक मानस पटलमा सुनिन्छ ।
घुर, जुन जाडो छल्ने एउटा उफक्रम थियो, छरछिमेकीसँग अन्तर्त्रियाको अवसर पनि । संयुक्त परिवारको परिवेशमा विभिन्न पुस्ताबीच घुलमिल हुने, पाका पुस्ताले पालुवा पुस्तालाई ज्ञानगुनका कुरा सुनाउने मौका पनि घुरको सामीप्यमा पाइन्थ्यो । घुर यस्तो सूचना केन्द्र हुन्थ्यो, जहाँ गाउँ–देहातका मात्रै होइन, देश–देशावरका कुरा चल्थे । खेतीकिसानीदेखि अदालतमा चल्दै गरेका मुद्दा मामिलाको सन्दर्भ उठ्थ्यो ।
एक अर्को आगो घरभित्र चुल्होमा बल्थ्यो । चुल्होमा आगो जोगाएर राख्ने आफ्नै पारम्परिक तरिका थियो । आफूकहाँ आगो निभेका बेला छिमेकीबाट मागेर ल्याउनुपर्थ्यो । यस्तै एकपटक मसाहीवाली काकीको घर पुगें । उनले गुइँठामा आगोको डल्लो राखेर ल्याइन् । मैले हत्तपत्त तिनको हातबाट लिन खोजेँ । उनले हप्काउँदै भनिन्, ‘एकरा त आगो लेबेके ढंग न हई (यसलाई आगो लिने ढंग पनि छैन) ।’ आगो एक हातबाट अर्को हातमा नदिने चलन छ । दिनेले आगो ल्याएर थपक्क राखिदिन्छ अनि लैजानेले राखेको ठाउँबाट लैजान्छ ।
जब घरमा पहिलोपटक टर्च आयो, बज्यैले एकाबिहानै टर्चबाटै चुल्हो बाल्न खोज्नुभो । जति गरे पनि आखिर बलेन । यो घटना पछिपछिसम्म पनि काकीहरू सुनाउँथे ।
आगोको अर्को भूमिका हुन्थ्यो दूषित वस्तु जलाएर भस्म रूपमा नष्ट गरिदिनु । सारा अवाञ्छित वस्तु डढाएर नष्ट गर्नु पनि आगोको स्वभाव हो । एकपटक आँगनको चुल्हो (जहाँ धान उसिन्ने काम हुँदैथ्यो) छेउ बसेर बज्यैले भनेको सम्झिन्छु, ‘तिमीले जानेर वा नजानेर आगो छोयौ भने यसले पोल्छ ।’ यसरी मैले आगोको स्वभावबारे थाहा पाएँ । आगो आफैँ केही बोल्दैन । चुपचाप
आफ्नो काम गर्छ र परिणाम दिन्छ ।
एकपटक बाजे बेलुकाको खाना खान आँगनमा आउनुभो । बाहिर दलानमा किशोरवयको म सुत्न जानुपर्ने । आज पनि मेरा सम्झनाभरि त्यो क्षण लालीगुराँस भएर आउँछ, मेरा आँखाभरि सुनगाभा/सुनाखरी भएर पलाउँछन् । स्मृतिका झिल्कामा राखेर छोप्न चाहन्छु । बाजेले भनेका थिए, ‘दलानमा घुरको आगो छ । जहाँ आगो छ त्यहाँ अभय बस्नु ।’ उनका यी वचनका थुंगा बटुलबाटुल पारी उनिँदा क्यानभासमा झल्किन्छ, ‘आगो एउटा भरोसा हो ।’ देहातमा आज पनि त्यस्ता दृश्य देखिन्छन्, जहाँ घुरको आगो बुत्ताइसकेको छ, तर मान्छेहरू एक न्यानोपनको खोजीमा वरिपरि बसिरहन्छन् । कोहीकोही त त्यसकै भरमा रात काट्न तम्सिन्छन् । यसको अर्थ आगो हुनुको बोध मात्रै पनि
मान्छेका निमित्त सहारा हो ।
घरमा मैले आगोसँग सबैभन्दा बढी संगत गरेको मेरी आमालाई पाएँ । त्यो जमानामा दाउरा–गुइँठाले खाना पकाइन्थ्यो । कहिले खेसारीको टुक्रा त पटुवाको संठीले पनि । सुकेको पातले पनि काम चल्थ्यो । ओस्सिएको दाउराले चुल्हो बाल्नु भनेको सगरमाथा चढ्नुभन्दा बढी संघर्ष हुन्थ्यो । केही पहिले विश्वनाथप्रसाद तिवारीको एक हिन्दी कविता ‘मां और आग’ पढेथेँ । लाग्यो, मेरै आमालाई केन्द्रित गरी लेखिएको हो त्यो कविता । आगोसँगको आमाको दिनचर्या त्यहाँ यसरी प्रकट भएको छ—
‘यह उस समय की बात है
जब माचिसका आविष्कार नहीं हुआ था
मां थोडी सी आग जलाकर रख देती
सबेरे रोटी सेंकने के लिए
रात को जब सभी सो जाते
मां आग को ऐसे ढंककर छिपाती
एक कोने में
जैसे कोई रतन हो अमोल
जैसे कोई शिशु हो मुलायम
जैसे कोई दुल्हन हो लाल– लाल !’
हो कैयौं वर्षसम्म मेरी आमाले चुल्हो बालिन्् । आगोको राप ताप सहिन् । आज पनि समाजको कुनै कुनामा महिलाहरू स्वयं चुल्होझैं सल्किँदै छन्, धंधोर हुँदै छन् । जब–जब चुल्होमा आगो सल्किँदै गरेको देख्छु, मेरी आमाको संघर्ष सम्झनाको क्षितिजमा उदाउँछ । चुल्होको स्वरूप फेरियो, आगो जोगाउने चिन्ता हरायो, तर आज पनि आगोको त्यो श्रेय जोगिएको छ ।
सम्झनामा छ– नवजात शिशुलाई गर्म दूध खुवाउने आगो । जब घुर ताप्दै मेघु भैया भन्थे, ‘कड कड दांत बजावति बा हो, थर थर हाड कंपावति बा हो ।’ त्यतिखेर मनतातो पानीले जीउ तताउने आगो । ठिठुरँदै गरेको घुटनोलाई स्फूर्ति दिने घुरको आगो ।
मंसिरमा धान काट्न सुरु हुन्थ्यो । धान काटेर खेतमै सुकाइन्थ्यो । पहिले धान पाक्न थालेपछि चोरले काटेर लैजाने डर हुन्थ्यो । यस्तोमा खेतमा मडई (परालको गोलाकार अस्थायी झाप्रो) बनाइन्थ्यो । राति रखवाली गर्न जानेहरू घुर लगाएर रात काट्थे । तीस–चालीसको दशकमा बालेश्वरका भोजपुरी गीतहरू निकै लोकप्रिय थिए । देहाती दुनियाँमा त्यसको नक्कल गर्दै गाउनेहरू देखिन्थे । मडईमा रखवाली गर्दै गरेका कोही चौरको एक कुनामा राग अलाप्थे– ‘आज के समाज में दहेज बना रोडा/बिकाई के ए बाबू बीए पास घोडा/बीबी सोलह साल की तो मरदा पचासा/पइसे के आड में बिगड गइले जोडा/बिकाई के ए बाबू बीए पास घोडा ।’
घुरमा दन्दनी बल्दै गरेको आगोछेउ गाउनेको अनुहार चम्किन्थ्यो । यसरी एक जनाले गाएकामा राग मिलाउँदै चौरभरि समवेत आवाज गुन्जिन पुग्थ्यो । घुर ताप्दा रमाइलो त हुन्थ्यो नै, रखवाली गर्नेहरू जागेकै छन् भन्ने सन्देश पनि जान्थ्यो ।
सामा चकेबाको चर्चा गरौं, एक महिला लोक नाट्य हो यो । पारम्परिक रूपमा कात्तिक महिनामा खेलिन्छ । यसमा माटाका कैयौं पात्र बनाएर त्यससँग जोडिएको गीत गाइन्छ । दिदीबहिनीहरू एक खलपात्र चुगिंलालाई लक्षित गीत गाउँथे, ‘वृन्दावन में आगि लागल कियो ने मिझावे हे/हम्मर भैया फल्ला भैया दौडक मिझावे हे ।’ आशय हो— जंगलमा आगो लाग्दा कसैले निभाएन, तर मेरा भाइहरू दौडेर आए र निभाए । यसले जंगल मास्न आगो लगाउने वा डढेलो लाग्दाको स्थितिमा त्यो निभाउन अग्रसर हुनुपर्ने कार्यप्रति सचेतना गराएको बुझिन्छ । मधेशका भाषाहरूमा आगोसँग जोडिएका अनेकौं अहान छन् । लोकगीत छन् । पुर्खाहरूले आगोलाई बुझेका थिए । जाडोलाई गमेका थिए । यी आहानमा आगोका इन्द्रेणी रूप प्रस्टिन्छ । अनि लाग्छ, आगो पो बोल्दै छन् । आगोको खोजी मान्छेले गर्‍यो । यसको समाजशास्त्रीय अध्ययन पक्कै भएको हुनुपर्ने हो, आखिर पुरुषले खोज्यो कि महिलाले ? आगोमाथिको स्वामित्व हासिल गरेर मान्छले खेती–किसानीदेखि घर परिवार–बस्तीसम्म बसायो । आगो मान्छेको आत्मनिर्भर हुने प्रयोगको साधन बन्यो । यो पशुहरूसँग प्रतिरक्षाको आयुध रह्यो । पछि–पछि यही आगो आपसी श्रेष्ठता एवं वर्चस्व देखाउने माध्यम बन्यो ।
एकपटक मध्यराति हल्ला भयो— फलानोको घरमा आगो लाग्यो । त्यो जग्गा हडप्ने नियतले दुई वृद्ध जोडीको घरमा आगो लगाएर उठीबास लगाउने षड्यन्त्र थियो । त्यसको निकैपछि यस्तै एक रात गाउँबाट बुवाको फोन आयो, ‘गोठमा आगो लाग्यो ।’ उनको कथनमा सुत्न जाने बेला घुरको आगोलाई निभाइएको थियो । आगलागीमा परेर दुईवटा भैंसी मरे । अनि मलाई लाग्यो, कसैको घरमा लागेको आगोलाई आफैं भित्रैदेखि अनुभव गर्न नसके बुझ्न नसकिँदो रहेछ । अरूको घरमा आगो लाग्दा आफू मल्हार गाउन सजिलो छ ।
मान्छे–प्रकृतिको साहचार्ययुक्त जीवन छ । त्यो संस्कृतिमाथि सुनियोजित र व्यवस्थित रणनीतिका साथ वर्चस्वशाली संस्कृतिले आफ्नो कब्जा जमायो । मधेशी समाजको मूल दार्शनिक तत्त्व तथा यसबाट निसृत विश्वदृष्टि कृषि र आगोमा आधारित छ । यसबारे खासै विमर्श छैन । यस्तै जाडोको एक दिन घुर ताप्दै थिएँ । गुलाबी घाम झुल्किएको थियो । तैपनि गुलाबी जाडो महसुस गर्दै थियौं । त्यहीँ मेरो बिहेको छिनोफानो भयो । बिहे गर्न घरबाट निस्किने बेला शुभसाइतका लागि माटोको कचोरा (जसमा आगो राखिएको हुन्छ) मा राई–जुवानो राख्दै घोप्टाइयो र त्यो नाघ्दै अघि बढ्न लगाइयो ।
वाग्मती किनारमा बाजे–बज्यै आगोमा भस्म भएको देखेँ । आगो आमाजस्तै हुन्, सुख दुःखमा साथ दिने । निरन्तर जीवन्त रहन सिकाउने ।
जसरी आमालाई थाहा छ– कसरी चुल्हो सल्काउने ? कस्तो आगोमा रोटी सेकिन्छ ? कस्तोमा दही जमाइन्छ ? आमालाई यी सबै अनुभवसिद्ध ज्ञान छ । यसैगरी आगो सुख र दुःखमा सघाउन आइपुग्छ, तर आगोलाई जित्ने कला आफूभित्र हुनुपर्छ । आगोमाथिको स्वामित्व आर्जन यति होस कि ‘प्रत्येक चुल्होमा आगो रहिरहोस् ।’ आगो भरोसा हो, आशा हो ।

कोसेली

भामहपूर्वको काव्यचिन्तन

- सुधा शर्मा


पाली समालोचनामा सङ्कलन–सम्पादनको परम्परा कृष्णचन्द्रसिंह प्रधानद्वारा सम्पादित ‘साझा समालोचना’ (२०२५) देखि भएको हो । त्यसयताका पाँच दशकमा यस किसिमका समालोचना कृति एक दर्जनभन्दा केही बढी मात्रै प्रकाशित भएका छन् । यस क्षेत्रमा समालोचकद्वय प्रा.राजेन्द्र सुवेदी र प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बृहत् आकारका तीनवटा यस्ता समालोचना कृति दिएर विशिष्ट योगदान पुर्‍याएका छन् । राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतमद्वारा ‘रत्न बृहत् नेपाली समालोचना’ (सैद्धान्तिक खण्ड) (२०६८) र ‘रत्न बृहत् नेपाली समालोचना’ प्रायोगिक खण्ड (२०६८) गरी सम्पादन गरेका दुई ठूला भीमकाय कृति प्रकाशित भइसकेका छन् । करिब एक दशकपछि बृहत् आकारको अर्को समालोचनाकृति ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३, २०७९) प्रकाशित भएको छ । पाश्चात्य सैद्धान्तिक परम्परालाई सूक्ष्म अध्ययन गरी नेपाली साहित्यमा प्रवेश गराएर सम्पादन गरिएको पछिल्लो समालोचनात्मक किताब ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३) पनि एउटा गहन र महत्त्वपूर्ण कृति हो । किताब विविध विषयक सात खण्डमा विभाजित छ । समालोचनात्मक आलेखहरू विषयगत विविधता, सिद्धान्तनिष्ठता, अनुसन्धानात्मकता, विषयवस्तुमा नवीनता, पूर्वीय एवम् पाश्चात्य मान्यता, विश्वसाहित्यमा देखिएका नवीन सिद्धान्त एवम् पद्धतिलाई आत्मसात् गरेर लेखिएका छन् । अघिल्ला सङ्ग्रहमा प्रायः नपरेका बत्तीस जना समालोचकका समालोचना यसमा समावेश छन्, जुन यसको ऐतिहासिक पक्ष हो । यस कृतिको पहिलो खण्डमा सम्पादकको भनाइ छ भने दोस्रो खण्डमा ‘पूर्वीय वाङ्मय र सौन्दर्यविमर्श’ अन्तर्गत भामहपूर्वको काव्यशास्त्रीय चिन्तन, समालोचनामा पौरस्त्य दर्शनका मानदण्ड र नेपालीमा तिनको प्रयोग, वैदिक वाङ्मयको स्वरूप र स्फोटवाद ः भाषिक र साहित्यिक अध्ययनको उपजीव्य सिद्धान्त आदि पूर्वीय सैद्धान्तिक मान्यतासँग सम्बद्ध आलेखहरू छन् ।
‘पाश्चात्य नवीन सौन्दर्यविमर्श’ शीर्षकको तेस्रो खण्डअन्तर्गत पाश्चात्य सैद्धान्तिक मान्यतासँग सम्बद्ध आलेख छन् । यसभित्र विनिर्माणवादी चिन्तन, डायस्पोराको सैद्धान्तिक स्वरूप, विधाविघटन र विधामिश्रण, साहित्यमा मनोविश्लेषणको समकालीन सन्दर्भ, भौगोलिक समालोचनाको सैद्धान्तिक स्वरूप, साइबर समालोचना ः मान्यता र प्रारूप, अधिआख्यानको सैद्धान्तिक निरूपण, सङ्केन्द्रीकरणको सैद्धान्तिक पक्ष र कृतिविश्लेषणका आधार आदि पाश्चात्य नवीन सिद्धान्त एवम् मान्यतामा केन्द्रित भई लेखिएका विभिन्न विद्वान्हरूका आलेख छन् ।
चौथो खण्डमा ‘अन्तविर्षयक विमर्श’ भित्र नेपाली साहित्यमा कुसङ्केतना र अपाङ्गता, सीमान्तीकरणको अवधारणा र भारतीय नेपाली कवितामा यसको प्रयोग, उत्तरवर्ती नेपाली निबन्धको समाजशास्त्रीय पठन,
लैङ्गिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण आदि विभिन्न विद्वान्का अन्तर्विषयक समालोचना समावेश छन् । ‘लोकसाहित्य विमर्श’ खण्डअन्तर्गत लोकसाहित्यसँग सम्बन्धित विभिन्न विद्वान्हरूका लेखहरू समावेश छन् । छैटौँ ‘विधागत विमर्श’ खण्डमा विविध विधासम्बद्ध आलेखहरू छन् । आत्मवृत्तान्तको सैद्धान्तिक स्वरूप, नाटकको रङ्गशिल्प सिद्धान्त, समकालीन नेपाली समालोचना ः स्वरूप र प्रयोग, कविताका आधारभूत मानक र तिनको मूल्याङ्कनका प्रमुख आधार, उत्तरवर्ती गीतिनाटकमा मञ्चनीयता, नेपाली आख्यान र कविताको नाट्यायन, जीवनीको सैद्धान्तिक स्वरूप आदि विभिन्न विद्वान्हरूका समालोचना केन्द्रित छन् । अन्तिम ‘विविध विमर्श’ खण्डमा विभिन्न विद्वान्हरूका सांस्कृतिक चेतना, पाठालोचन सिद्घान्त, अलङ्कार र फिगर अफ स्पिच, पाठनिर्माणका युक्ति ः संसक्ति र संयुक्ति, स्वैरकल्पनाको सिद्धान्त, साहित्येतिहास लेखनका सिद्धान्त, आनुभविक विश्लेषण आदि विविध विषयवस्तुसँग सम्बद्ध आलेख समावेश छ ।
नेपाली समालोचना जगत्मा नवीन सैद्धान्तिक एवम् प्रायोगिक सिद्धान्तको यो प्रयोगले एउटा इतिहास थप्ने काम मात्र गरेको छैन, बलियो खम्बाको निर्माण पनि गरेको छ । सम्पादकद्वयको अथक प्रयास र साधनाको प्रतिफलपछि तयार पारिएको यस ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३, २०७९) नेपाली समालोचनाको विशिष्ट ग्रन्थ बनेको छ । यस ग्रन्थले परम्परागत मान्यता एवम् सिद्धान्तका स्थानमा नवीन मान्यतालाई नेपाली समालोचनामा भित्र्याउन विशिष्ट दृष्टिकोण प्रस्तुत गरेको छ । ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३) सात सय चवन्न पृष्ठ (करिब चार लाख शब्द) को रहेकाले यो नेपाली समालोचनामा अहिलेसम्मकै बृहत् आकारको ग्रन्थसमेत हुन पुगेको छ ।

कोसेली

आगो केवल आगो होइन

- कुन्साङ

 

आगो नहुँदो हो त बाह्रै महिना जाडो भइरहने
हिमालतिरको जनजीवन कस्तो हुन्थ्यो ? हिउँदका ती पाँच महिना जम्मै जमिन हिउँले टम्म ढाकिएको हुन्छ, त्यहाँ आगो नहुनु कति पीडादायक होला ? हिउँमा बस्नेका लागि आगो नै जीवन हो, जीवन नै आगो । आउनुस् एकछिन हिमाल र आगोका कथा पढौं– हुम्ला, नाम्खाकी एपी र उनको सुनाएको आगोको कथा ।
घाँटीका नशा फुलाउँदै कष्टले आगो फुकिरहेकी एपी (बजै) लाई सोधें, ‘एपी, पहिले सलाई र लाइटर नहुँदा कसरी आगो बाल्नुहुन्थ्यो नि ?’ आगो फुक्ने मसिनो पाइप समातेकी एपीका व्यस्त हात टक्क रोकिए । फु...फु... रोकिएपछि धूवाँको झुप्पा चुलोबाट बाहिरियो एकदमै रफ्तारमा– घण्टी बज्नेबित्तिकै कुदिहाल्ने स्कुले केटाकेटीजसरी । धूवाँसँगै उडेको सेतो फिलिंगो एपीको सेतो कपालमाथि अवतरण गर्‍यो र हरायो ।
एकछिन रोकिएपछि एपी फेरि आगो फुक्न थालिन् । निक्कैबेर फुकेपछि ह्वात्त बल्यो– आगो । तर, एपी शान्त थिइ्न्, एकदमै स्तब्ध ! चिसो दाउराबाट निस्केको चाइँचुइँ आवाजले त्यो स्तब्धता
चिरिरह्यो । एपीको छामखाङ (गाउँभन्दा पर पूजा गर्न बस्ने ठाउँ) लगभग तीन हजार मिटरको उचाइमा थियो । वरिपरिका हिमाल सधैं हिउँले ढाकिएका हुन्थे । ठूलो ढुङ्गामा टाँसेर एकातिर मात्रै ‘भान्ना’
(भित्ता) चिनेर एपीको छामखाङ बनाइएको थियो । पूजा गर्दा आगो बाल्न छामखाङको ढोकानेर दाउरा र गोबर जम्मा गरेर राखेकी हुन्थिन् एपीले । उनी उसैगरी चुपचाप बसिरहेकी थिइन्, आगो तापेरै । निक्कैबेर तापेपछि आगो माग्न जाँदाका कथा सुनाउन थालिन् उनले । आगो ताप्दै एपीका कुरा सुन्दा लाग्यो– त्यो समयले कोल्टे फेर्‍यो । उबेला गाउँमा मि (बाजे) को घरमा एपी तामे (कथा) सुन्न जाने चलन थियो । त्यत्तिबेला यसरी नै हामी नानीहरू चुलोवरिपरि बसेर आगो ताप्दै तामे सुन्थ्यौं ।
‘उहिल्यै खार्कोङ (ढुङशील/सेतो ढुङ्गा) र मेप्च्याक (ल्वखर) का बीचमा सानो टुक्रा टा (जुलो) राखेर घोट्थ्यौं । खार्कोङ र मेप्च्याक घोट्दा बेलाबेला आगोको सानो–सानो झिल्का निस्किन्थ्यो, ढुङ्गामा
ढुङ्गा ठोकिँदा निस्किने आगोजस्तै ! निक्कैबेर घोटेपछि त्यो सानो झिल्काबाटै टा मा आगो सल्किन्छ । अनि त्यही टा लाई चुलोमा राखेर फुक्थ्यौं । टा को आगो दाउरामा सल्किन्थ्यो र बल्थ्यो चुलोमा आगो । हिउँद भन्दा बर्खामा आगो बाल्न निक्कै गाह्रो हुन्थ्यो । ओस्सिएका चिसा दाउरामा सजिलै आगो नसल्किने । बिहान आगो बाल्नै अम्तै समय लाग्थ्यो । त्यत्तिबेला अहिलेको जस्तो राम्रो चुलो पनि हुन्थेन् । कसैकसैको घरमा चारखुट्टे ओदान हुन्थ्यो । बाँकीका घरमा तीनखुट्टे सानो ओदान । आगो फुक्दा–फुक्दै धूवाँले घर भरिन्थ्यो । पिरो धूवाँले रुएझैं बनाउँथ्यो नि,’ आगो प्राप्तिका ती दिन सम्झेर एपी मज्जैले हाँसिन् । त्यसरी आगो बल्दा कुहिरोले ढाकिएजस्तै हुन्थ्यो घर ।
एपी यसरी बोलिरहेकी थिइन्, मानौं उनले खार्कोङमा मेप्च्याक घोटेर आगो बालेको हिजै हो । तर, त्यो त उनी सानै छँदाको कथा हो लगभग असी वर्षपहिलेको । उनको अनुहारमा रमाइलोसँगै सम्झनामा संर्घषका भाव आइरहेका थिए/गइरहेका थिए । त्यत्तिबेला आगो माग्न जाने चलन थियो । बिहान उठेपछि थाडामा गएर वरिपरिका घरबाट धूवाँ निस्केको छ कि छैन हेरिन्थ्यो । ‘नजिकैको घरबाट धूवाँ आइरहेको छ भने एक मुठो लोइटो बोकेर जान्थ्यौं र आगो सल्काएर ल्याउँथ्यौं । अलि टाढाको घरबाट धूवाँ आइरहेको छ भने क्यो (ढाडु) वा थाल बोकेर जान्थ्यौं । क्योमा अगुल्टो हालेर आगो फुक्दैफुक्दै ल्याउँथ्यौं । क्योमा आगो ल्याउँदा हात पनि पोल्थेन’, बुढ्यौलीका रेखाहरूमा हराएको हातको सानो दाग देखाउँदै थपिन् एपीले, ‘यी यो दाग आगो माग्न जाँदा लोइटोको खोटो चुहिएर बसेको हो ।’
छार्वा, मेल र ओखरको दाउरा बाल्दा खरानीले छोपेर पनि राखिन्थ्यो आगो । त्यसरी छोपेर राखेको दिन आगो मर्‍यो कि भन्ने निक्कै चिन्ता हुन्थ्यो । राति छोपेको आगो बिहान उठेर खरानी खोस्रिँदा सानो झिल्को मात्रै देख्दा पनि आगो खोस्रिने त्यो अनुहार धपक्कै बल्थ्यो खुसीले । आगो मरेको दिन निभेको अनुहार लिएर फेरि आगो माग्न जानुपर्थ्यो ।
आगोका लागि सबैभन्दा धेरै दुःख हुन्थ्यो खर्क जाँदा । चिसो दाउरामा आगो नसल्किने । लाइटो धेरै नपाइने । आगो माग्न घुँडा–घुँडासम्मै आइपुग्ने हिलो तरेर जानुपर्थ्यो । त्यत्तिबेला न अहिलेजस्तो जुत्ता हुन्थ्यो न छाता नै । कहिलेकाहीँ त ल्याउँदा ल्याउँदै बाटोमै आगो मरिसक्थ्यो । फेरि फर्केर आगो माग्न त्यतै कुद्नुपर्थ्यो । तर, एपीहरू त्यो दैनिकीमा अभ्यस्त भइसकेका थिए ।
सलाई कति बेला गाउँ पस्यो, त्यो त एपीलाई याद छैन । भन्छिन्, ‘तर, सलाई आएपछि पनि हाम्रो किनेर बाल्ने हैसियत थिएन । धेरै पछिसम्म पनि मागेरै आगो बाल्यौं ।’ सलाई कस्तो हुन्छ ? उत्सुकताले दौडिएर त्यो हेर्न एक जना साथीको घरमा गएको उनलाई याद छ । ‘तर, त्यो सलाईको बट्टा कस्तो थियो, बिर्सें अहिले । हामी धेरै जना सँगै गएका थियौं सलाई हेर्न ।’
त्यत्तिबेला कसको घरमा कति अन्न छ ? कसले कति छाक खाना खान्छ ? को कति धनी छ भन्ने त्यो घरबाट निस्किने धूवाँले बताउँथ्यो । धेरै अन्न भएकाहरूले चार छाक खाना पकाउने भए । उनले भनिन्, ‘प्होदच्या पनि पकाउँथ्यो होला । त्यो घरमा आगो पनि निभ्थेन । सधैं आगो भइरहनु वा धूवाँ आइरहनु भनेको त्यो घरमा टन्नै अन्नबाली भएको मानिन्थ्यो । घरमा अन्न नहुनेको चुलोमा आगो पनि सधैं हुँदैनथ्यो । त्यही भएर त कताकता आगो माग्न गइरहनुपर्थ्यो ।’
‘दाल्देर हिक थाप ल मे मेत’ (चुलोमा आगो पनि नभएको गरिब) । चुलोमा आगो नहुँदा हाम्रोतिर अहिले पनि यो उखान भन्ने गरिन्छ । सायद त्यत्तिबेलैदेखि भनिँदै आएको हुनुपर्छ यो उखान । एपीका कथा सुनेपछि लाग्यो, धूवाँले पनि समाजमा वर्ग
छुट्याउँदो रैछ ।
मुसुक्क हाँसेर एपीले अर्को रमाइलो स्मृति सुनाइन्, ‘मेरो एक जना साथीले त आगो माग्न आउने केटासँग भागेर बिहे गरेकी थिई । दिनदिनै आगो माग्न आउने केटा र मेरो साथीले एकअर्कालाई मन पराउन थालेछन् । एक साँझ आगो माग्न आएको केटाले आगोसँगै केटी पनि लिएर गएको थियो । आगो दिन गएकी छोरीलाई निक्कै बेर पर्खिएर बसिरहिन आमा । तर, छोरी आइनन् । बिहान छिमेकी केटो क्यो पुर्‍याउन आउँदा पो आमाले थाहा पाएकी रे, छोरीले आगो माग्न आउने केटोसँगै भागेर बिहे गरेको ।’
...
हिमालमा आगो जति प्रिय छ, आगोको त्रास पनि उत्तिकै छ । अहिले माघ लागिसक्दा पनि हिउँ नपर्नु हिमालीका लागि चिन्ताको विषय बनेको छ । सुक्खा जमिन, एकअर्कासँग जोडिएका घरहरू । हिउँदका लागि जम्मा गरेर राखिएको घाँस–दाउरा छन् गाउँभरि । र, हिउँ पर्ने समयमा हिउँ नपर्दा आगोको डर पनि बढेकै छ ।
हिमालका मान्छेका लागि न्यानो र खाना पकाउने स्रोत मात्रै होइन आगो । अन्न उत्पादनको स्रोत पनि थियो कुनै बेला । २०/२५ वर्ष पहिलेसम्म पनि हाम्रो गाउँतिर वनमा डढेलो लगाएर फापर खेती गरिन्थ्यो । डढेलो लगाएको ठाउँमा सप्रिने भएरै होला मान्छेहरू फापर लगाउँथे । हिमालीहरूका लागि देउता हो आगो । र, त हिमालमा आगोलाई पुजिन्छ । खाना पस्किनु पहिले त्यो खाना आगोलाई चढाइन्छ ।
एपी भन्नुहुन्छ, ‘चुलोमा आगो भएन भने घर घरजस्तो लाग्दैन । चुलोमा टन्न आगो बल्यो भने पो मान्छे बसेको घरजस्तो देखिन्छ त्यो । मान्छे बस्ने घर देखिन पनि चुलोमा आगो बल्नुपर्छ । घरलाई घरजस्तै बनाउन पनि चुलोमा आगो चाहिन्छ ।’
हिमालीका लागि आगो केवल आगो होइन, घरको शोभा बढाउने गेन्छ्या (गहना) हो ।
सोच्नुस् त हिमालमा आगो नहुँदो हो त हिमालीको जीवन कत्ति कस्टसाध्य हुन्थ्यो होला ? हिउँ फाल्दा, गाईगोरुलाई पानी खुवाउँदा, लुगा धुँदा वा हिउँमा हिँड्दा–हिँड्दै हात–खुट्टा कठ्यांग्रिएका बेला आगो नहुँदो त के हुन्थ्यो ? आगो नभए हिमालको जीवन कसरी चल्थ्यो होला ?
केही महिनाअघि छिमेकी बाजे बिते । उनले अन्तिम पटक इसारा गरेर भनेका थिए, ‘म मरेपछि पानीमा नफाल्नू, जमिनमा नगाड्नू, आगोमै जलाउनू । म आगोको न्यानोमै हराउन चाहन्छु ।’
आगोसँगै जीवन बिताएका बाजेलाई मर्दा पनि आगै चाहिएको थियो । सोच्नुस् त, हिमाल, हिमाली र आगोको नाता कस्तो होला ? र, त भनिन्छ– आगोसँग हिमालीको सम्बन्ध जीवनसँग मात्र होइन मरणसँग पनि जोडिएको छ ।

Page 11
कोसेली

सुनाखरी दुःखान्त

- कमल मादेन

 

अर्किड्सका फूल सुन्दर हुन्छन् । जति सुन्दर हुन्छन्, उत्तिकै बहुमूल्य । जैविक औषधीय रसायन खोजकर्ताले यसका पात, जरा गानो/ट्युबर, काण्ड गानो (सिउडोबल्ब) बाट महत्त्वपूर्ण औषधि बनाएका छन् । त्यसैले अत्यधिक रूपमा संकलन भई यसको अवैद्य व्यापार हुने गरेको छ ।
इन्डोनेसियाको बालीनजिकै लोम्बोक टापुको जंगलमा भान्डा लोम्बोकेन्सिस् भन्ने वनस्पति थियो । लोम्बोकमा मात्रै पाइने यो अत्यन्तै सुन्दर फूल फुल्ने अर्किड्स प्रजातिमा पर्थ्यो । विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) का अनुसार, मानव गतिविधि र ज्वालामुखीका कारण सन् २०२० यता यो प्रजाति लोप हुन पुग्यो । सन् २०१९ मा जिम्बाबेबाट एइरान्थस अफ्रिकाना र एइरान्थस पार्केसी पनि हराए । भुटानलगायत पूर्वी हिमालयमा पाइने इयुलोफिया स्टेनोपेटाला र भारतमा मात्रै पाइने पेफियोपेडिलम ड्रर्अ्यी पनि दशकयता लोप भएका छन् ।
यी प्रजाति अति संकटापन्न थिए । करिब ४ दर्जन अति संकटापन्न अवस्थाका अर्किड्स प्रजाति केही दशकयता लोप भएको आशंका छ । हामीकहाँ करिब ५ सय अर्किड्स प्रजाति छन् । तीमध्ये १९ प्रजातिका रैथाने अर्किड्स भएको अभिलेख छ ।
दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले अर्किड्सलाई संसारैभर संकटापन्न वनस्पति मान्दै अनुसूची १ र २ मा समावेश गरेको छ । राज्यले हामीकहाँ अहिलेसम्म समग्र अर्किड्स प्रजाति कस्ता अवस्थामा छन् भन्ने अध्ययनको चाँजोपाँजो मिलाएको सुनिएको छैन । बरु प्रशस्त मात्रामा अर्किड्स संकलन भई विदेश निर्यात भइरहेको छ ।
सरकारले दुर्लभ तथा संकटापन्न वन्यजीवको अवैद्य व्यापार नियमन र नियन्त्रण गर्न संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन र नियमावली २०७३ र २०७६ मा जारी गरेको छ । यसअनुसार, साइटिस अनुसूची १ मा समावेस वन्यजीवलाई राज्यको साइटिस व्यवस्थापन निकाय र वैज्ञानिक निकायको सिफारिस आधारमा ओसारपसार गर्न मिल्छ । तर, निकासी गर्न चाहनेले इजाजतपत्र लिनुभन्दा पहिले पैठारी गरिने देशले पनि सम्बन्धित देशमा पैठारी गर्न दिएको अनुमतिपत्र प्राप्त गरेको हुनुपर्छ । साइटिस व्यवस्थापन निकाय वन विभाग र वनस्पतिको साइटिस वैज्ञानिक वनस्पति विभाग हो । अनुसूची २ मा समावेश वन्यजीव वैज्ञानिक निकायले त्यस्ता प्रजातिको निकासीबाट अस्तित्वमा खतरा छैन भन्ने सुनिश्चित गरेपछि मात्रै साइटिस व्यवस्थापन निकायबाट निकासी अनुमति दिने प्रावधान छ । नेपाल सरकारले २०७३ यता अर्किड्स संकलन तथा निर्यात अनुमति दिएको छैन ।
अर्किड्सको नेपाली नाम सुनाखरी/सुनगाभा/जीवन्ती/गामाडोल/पाँचऔंले लेखिएको छ । ग्रिनहुड नेपाल नामक एक संस्थाले नेपालमा २०७३ यता अर्किड्स अवैद्य रूपमा ओसारपसार भइरहेको छ, छैन भन्ने अध्ययन ३ वर्षअघि सुरु गरेको थियो ।
अध्ययनका क्रममा काठमाडौंमा औषधिजन्य वनस्पति कारोबार गर्नेहरूबाट अर्किड्सको व्यापार भइरहेको छ भन्ने केही संकेत पाइयो । निकैपटक मकवानपुर आवतजावतपछि एक स्थानीय व्यापारीको घरमा अर्किड्ससहित अन्य औषधिजन्य वनस्पति संग्रह गरेको भेटियो । जे जति देखियो र जानकारी पाइयो, त्यसले अर्किड्सलाई साइटिस सम्बन्धी ऐन तथा नियमावलीमा प्रवेश नगरी कारोवार भइरहेको पाइयो ।
निकै भलाकुसारीपछि व्यापारिक वनस्पति हेर्न पाइयो । ती धेरैजसो अर्किड्स नै थिए । कुनै अर्किड्सका काण्ड, कुनैको जरा गानो (ट्युबर) तथा कुनैको सिउडोबल्ब अर्थात् काण्ड फुलेको भाग । अर्किड्स जाति हो भन्ने स्पष्टै चिनियो, तर प्रजाति
छुट्याउन सकिएन । कारण फूल थिएन । फूल नभएपछि प्रजाति अक्सर चिन्न सकिन्न । एक जातिको अर्किड्स भने एकतले घरको छत पूरै ढाकेर आलुका दानाजस्तो सुकाएर राखिएको थियो । नाम शक्तिगुम्बा बताइयो । त्यो अर्किड्सको प्लिउनी जातिअन्तर्गतको हो भन्ने त तुरुन्तै थाहा पाएँ । संयोगले एउटा फूल भेटियो ।
नेपालमा प्लिउनी जातिअन्तर्गत एक रैथानेसहित ५ प्रजाति छन् । फूलचाहिँ प्लिउनी प्राइकोक्स प्रजातिको थियो । सुकाइएका सिउडोबल्ब धेरैजसो प्लिउनी प्राइकोक्सको थियो । अन्य प्लिउनी प्रजाति ठम्याउन सकिएन । प्लिउनी जाति रूखमा, पहरामा उम्रन्छ । यसको जराभन्दा केही माथि सिउडोबल्ब अर्थात् काण्ड गानो हुन्छ । नेपालमा मात्र पाइने प्लिउनी कोरोनारिया हो । यसको पनि व्यापार भइरहेको छ, छैन त्यहाँसम्म गहिरिएर खोज तलास गर्न सकेनौं ।
यो त अर्किड्सजस्तो छ नि ? भन्दा अनकनाउँदै ती व्यापारिले भने, ‘अर्किड्स संकलनमा केही वर्षदेखि सरकारबाट बन्देज लगाएको छ । के कानुन बनाएको छ अरे, त्यसअनुसार अर्किड्स किनबेच गर्न पाइन्न भन्छ बनका कर्मचारीहरू र शक्तिगुम्बालाई संकलन गर्न पानी अमलाको नाममा पुर्जी बनाएको छु, सबैले यसरी नै बनाउने गरेका छन् ।’ यस्तो जानकारी न कहिल्यै सुनेका थियौं, न कुनै अनुसन्धानकर्ता वा मिडियाकर्मीले नै थाहा पाएका थिए ! यो त स्थानीय संकलकलाई मात्र होइन, नेपाल सरकारलाई पनि अपराध कर्ममा फसाइएको भन्ने लाग्यो ।
पानी अमला उन्यु वर्गको वनस्पति हो । यसको वैज्ञानिक नाम नेप्रोलेपिस कोर्डिफोलिया हो । यसको जरामा ससाना गोला, चिल्ला मट्याङ्ग्राभन्दा केही साना फुस्रा, चिल्ला दाना हुन्छन् । तिर्खा लागेका बेला त्यो चपाएर खाइन्छ । पानी अमलाको निकासी प्रतिकेजी दस्तुर ३ रुपैयाँ हो । सरकारले खटाएका कर्मचारीले शक्तिगुम्बालाई पानी अमलाका नाममा संकलन तथा निर्यात अनुमति दिंदा रहेछन् । वन विभागको महानिर्देशक दीपेशमणि त्रिपाठीले वन विभागले अहिलेसम्म अर्किड्सलाई पानी अमलाको नाममा संकलन अनुमति दिएको कतै जानकारी नभएको बताए । उनले यो अपराध हो, यसलाई कानुनी दायरामा ल्याउनुपर्छ भने । संविधानअनुसार वनजंगलको कामकारबाही डिभिजन वन कार्यालयबाट हुने गरेको छ ।
शक्तिगुम्बा काँचै प्रतिकेजी ३,४ सय रुपैयाँमा खरिद हुने रहेछ । ४ केजी सुकाउँदा निर्यातको निम्ति १ केजीजति बन्दो रहेछ । सुकेको ४,५, हजारदेखि प्रतिकिलो ८ हजारसम्ममा पाइने रहेछ । पहिले एउटै गाउँबाट टनका टन संकलन हुन्थ्यो, हिजोआज धेरै कम भएकाले कैयन ठाउँबाट संकलन गरेपछि मात्रै १ टन पुग्दोरहेछ । अर्का एक व्यापारीले डेन्ड्रोबियम जातिको अर्किड्स, जसको काण्ड मसिनो र आँख्ला छोटो हुन्छ, त्यो प्रतिकेजीे केही वर्षअघिसम्म ४० हजारसम्म बेचेको बताए ।
सेटारिया नेपालेन्सिसलाई गामडोल भनिँदो रहेछ । यो भुइँमा हुने सुनाखरी हो । यसको जरामा गानो हुन्छ । यो प्रतिकेजी २, ३ हजार रुपैयाँमा बिक्री हुनेरहेछ । गोर्खाको उच्च हिमाली गाउँहरूमा पाँचऔंलेलगायतका अर्किड्स संकलन गरिएको पाइयो । पूर्वप्रकाशित जानकारी संश्लेषण गर्दा नेपालमा व्यापारसँग जोडिएका अर्किड्स ४९ जाति तथा १४६ प्रजातिको नाम जुटाउन सकियो । तर, स्थलगत रूपमा १ दर्जन जति अर्किड जाति व्यापारमा प्रयोग भएको पाइयो । नेपालमा बुल्बोफाइलम, सिलोगाइन, सिम्बिडियम, डेन्ड्रोबियम, गुडेरिया र ह्याबनेरिया जातिका क्रमशः ४०, २७, १०, ३४, ५ र २० जति प्रजाति सूचीकृत छ । हामीले जुटाएको पूर्वप्रकाशित जानकारीमा नेपालबाट व्यापार भइरहेको बुल्बोफाइलम, सिलोगाइन, सिम्बिडियम, डेन्ड्रोबियम, गुडेरिया, ह्याबेनारिया आदि जातिका क्रमशः ६, १३, ८, २८, ३, ८ प्रजाति छन् । यस्तै, वन नियमावलीमा राजपत्रमा सुनडाँठे गानोको राजस्व दस्तुर प्रतिकिलो १० रुपैयाँ उल्लेख छ । यसको वैज्ञानिक नाम ग्यास्ट्रोडिया इलाटा लेखिएको छ । यसलाई अर्किड्सभन्दा अलग्गै राखिएको छ । तर, यो भुइँमा पलाउने हरितकणविहीन अर्किड्स हो । वन नियमावलीले यसलाई अर्किड्स भनेर चिनेन । चिनेको भए, अर्किड्स भनेर सँगै लेख्थ्यो । यो नेपालबाट अत्यधिक मात्रामा चीन निर्यात हुने गरेको अनुसन्धानात्मक लेखहरूमा पाइन्छ । विडम्बना भन्नुपर्छ नेपाली वनस्पति विज्ञले यसको तस्बिरसम्म खिचेका छैनन् ।

व्यापारीले मात्रै चिन्छन्
दक्षिण एसियाली सरकारले दक्षिण एसियामा वन्यजीव अपराध नियन्त्रण गर्न साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सावेन) स्थापना गरेका छन् । सचिवालय नेपालमा भए पनि यसको भूमिका खासै देखिएको छैन । नेपाल सरकारले वन्यजीव अपराध नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण संरचना नेसनल वाइल्डलाइफ क्राइम कन्ट्रोल कोर्डिनेसन कमिटी बनाएको छ । यसको मातहतमा अहिलेसम्म विभिन्न जिल्लामा करिब ३६ वटा वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्युरो (डब्लूसीसीबी) बनेको छ ।
पंक्तिकार केही महिनाअघि डब्लूसीसीबीको एक बैठकमा आमन्त्रितका रूपमा उपस्थित भएको थियो । छोटो मन्तव्य राख्ने क्रममा नेपालमा अर्किड्स अवैध रूपमा अत्यधिक संकलन तथा ओसारपसार र व्यापार भइरहेको कुरा चर्चा गरियो । उपस्थितमध्ये एक सुरक्षा निकायका प्रमुखले ‘अर्किड्स पनि वाइल्डलाइफअन्तर्गत पर्छ भन्ने पहिलोपटक सुनें’ भने । अर्का सुरक्षा निकाय सम्बद्ध व्यक्तिले अर्किड्स कस्तो हुन्छ, राम्ररी नचिनेको बताए । एरिया डिभिजन वन कार्यालयका कर्मचारीले अर्किड्स सामान्य चिनेको, तर यो के कति किसिमिको हुन्छ, थाहा नभएको बताए । वन विज्ञान अध्ययन गर्नेमध्ये विशेष रुचि भएका बाहेक अन्यले अर्किड्सबारे खासै जानकारी राख्दैनन् । वनस्पति विभागमा वनस्पति विज्ञान पढ्नेहरूको बाहुल्य छ । यो विभागमा पनि अर्किड्सलाई सामान्य रूपमा चिन्ने मात्रैको बाहुल्य छ । विडम्बना यो विभागको सिनियर कर्मचारी अक्सर वन विज्ञान पढ्ने हुन्छन् । नेपालको साइटिसको व्यवस्थापन निकाय र वैज्ञानिक निकायको अवस्था यस्तो भएपछि डब्लूसीसीबीका प्रतिनिधिहरूले अर्किड्स साइटिस अन्तर्गतका वन्यजीव हो भनेर कसरी थाहा पाउँछन् र चिन्छन् ?
अर्किड्स विज्ञ नै यसका फूल र बोटबाहेक अन्य भाग चिन्दैनन् । यसो हुनु भनेको विश्वविद्यालयको पाठ्य सामग्रीकै कमजोरी हो । विश्वविद्यालयमा अध्यापन गरिने सामग्रीमा अर्किड्स सम्बन्धी जानकारी १, २ सय वर्षअघि लेखिएकै स्वरूपमा छ । जमिनमा हुने अर्किड्सको जरा गानो अर्थात् ट्युबर हुन्छ भन्ने लेखिएका छन् । कुन जातिको जरा गानो कस्तो आकृतिको हुन्छ ? त्यो सुक्दा कस्तो देखिन्छ ? अर्किड्स पिँधेको पाउडर कस्तो रंगको हुन्छ ? कस्तो बास्ना आउँछ ? विश्वविद्यालयका पाठ्य सामग्रीमा कतै लेखिएको छैन ।
अर्किड्समा विद्यावारिधि गर्नेहरू नेपालमा १ दर्जन जति छन । उनीहरू पनि प्राकृतिक र हर्बेरियममा सजाइएका नमुना मात्र चिन्छन् । यस्तो अवस्थामा अर्किड्सको अवैध कारोबार नियमन र नियन्त्रण गर्न सरकारले मलेकुलर लेवल अध्ययन गर्ने औजार व्यवस्थापन गर्नुपर्छ । वन विभागको उपमहानिर्देशक नवराज पुडासैनीले अर्किड्सको अवैद्य कारोबार रोक्न सबै भन्सार नाकाहरूमा वन्यजीवको मलेकुलर तह परीक्षण गर्ने प्रणाली स्थापना गर्न आवश्यक रहेको बताए ।
वन तथा वातावरण मन्त्रालयका छुट्टाछुट्टै ३ विभागले प्रकाशन गरेको पुस्तिकमा अनुसूची अर्किड्सबारे जानकारी लठिभद्र छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७१) ले साइटिस अनुसूचीमा सूचीकृत ‘नेपालका दुर्लभ वन्यजन्तु र वनस्पति’ शीर्षक पुस्तिकाको अनुसूची १ मा अर्किड्सको पेफिओपेडिलम फेरियनम र पेफिओपेडिलम भेनुस्टम समावेस छ (पृष्ठ १७) । वन विभागले प्रकाशन गरेको ‘नेपालमा साइटिस कार्यान्वयन एक परिचय’ शीर्षक पुस्तिका (२०७५) को अनुसूची १ मा पेफिओपेडिलम इन्सिज्ने र पेफिओपेडिलम भेनुस्टम समावेश छ । तर, अघिल्लोचाहिँ नेपालमा नपाइने जनाइएको छ । यस्तै, वनस्पति विभागले ‘चेकलिस्ट अफ साइटिस लिस्टेड फ्लोरा अफ नेपाल’ (सन् २०१७) शीर्षक पुस्तिका प्रकाशन गरेको छ । यो पुस्तकमा अनुसूची १ मा पेफिओपेडिलम भेनुस्टम मात्र समावेश छ । यस्तै, अनुसूची २ मा फरकफरक तथ्यांक संख्या छ ।
वनस्पति विभागले प्रकाशन गरेको पुस्तिकामा त अनुसूची १ समावेशबाहेक अन्य अर्किड्स अनुसूची २ का हुन् भन्ने पनि
उल्लेख छैन । उक्त पुस्तिकमा नेपालमा पाइने अर्किड्स प्रजातिमध्ये एकतिहाइ जति मात्र अनुसूची २ मा समावेश छ । जब कि संसारभरका प्राकृतिक बासस्थानमा पाइने अर्किड्स प्रजाति अनुसूची १ र २ मा समावेश छन् । साइटिसले १४ फेब्रुअरी २०२१ मा जारी गरेको जानकारीअनुसार, अर्किड्सका ६ जातिका १, १ प्रजाति, अर्को १ जातिको २ प्रजाति र पेफिओपेडिलम तथा फ्राग्मिपेडिलम जातिका सबै प्रजातिहरू अनुसूची १ मा समावेश छन् । पेफिओपेडिलम र फ्राग्मिपेडिलम जातिका क्रमशः ८२ र २४ प्रजाति छन् । यसअनुसार, साइटिस अनुसूची १ मा आजका दिनसम्म जम्मा ११४ प्रजाति समावेश छन् ।
देशविशेषमा भएका सबै वन्यजीवलाई वातावरण सन्तुलनका निम्ति जोगाउँदै यसको फाइदा राष्ट्रले लिनुपर्छ । तर, नेपालमा साइटिस कार्यान्वयन गराउने निकायले अर्किड्स पहिचान गर्नै नसकेको अवस्था छ । सीमित व्यापारी र विशेष गरि विदेशी व्यापारी मात्रै यसबाट लाभान्वित भइरहेका छन् । सन् १९८० ताका पूर्वी नेपालबाट मात्र करिब १ सय ट्रक अर्किड्स भारततर्फ निकासी हुन्थ्यो । त्यसबेला एउटा ट्रकले ८ टनसम्म बोक्थ्यो । १ सय ट्रक भनेको करिब ८ सय टन जति हो । अब राज्यले के कति अर्किड्स बचेको छ, त्यसको अध्ययन गरी साइटिससम्बन्धी ऐन, कानुन कडाइका साथ कार्यान्वयन गराउनुपर्छ ।

कोसेली

आमाहरूका कथा खजाना

- यशोदा तिम्सिना

नेपाली समाजमा अझै छोराछोरीबीच विभेद छ । छोरा जन्मिए ‘परत्र तर्न सकिन्छ’ भन्ने सोच छ । यद्यपि आमाले जन्माउँदा ती छोरा या छोरी हुँदैनन्, केवल सन्तान हुन्छन् । लैङ्गिकताका आधारमा हामी तिनलाई छोरा या छोरी भन्छौं ।
हाम्रो कानुन र नियमले आमालाई बहुत उपेक्षा गरेको छ । आमाका नाममा नागरिकता दिन र अधिकार प्रत्यायोजन गर्न कन्जुस्याइँ गरेको छ । तर, के छोरीहरू आफ्नो कर्तव्य–पथबाट च्युत भएका छन् ? के आमालाई दिनुपर्ने सम्मान र आफू आमा हुँदाको समयलाई नजरअन्दाज गरिरहेका छन् ? के समाजले आमाको काम, कर्तव्य र अधिकारमा ओठेभक्ति प्रदर्शन गरे पनि व्यवहारमा कम आकलन गरेको तथ्य भुलेका छन् ? अनेक प्रश्नका सांगोपांग जवाफ लिएर दर्जन छोरी मैदानमा उत्रिएका छन्– ‘छोरीले जन्माएका आमाहरू’ किताबमार्फत । आमाहरूका भोगाइलाई एक विशिष्ट पुस्तकको रूप दिन मिहिनेत गरेका छन्– पुस्तकका संयोजक मञ्जु थापा र प्रकाशक अर्चना थापाले ।
लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, कल्पना तामाङ, डा. कविता घिमिरे, जानु ओझा, तनुजा पोखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य, सञ्जीता बराइलीहरूले आफ्ना आमामाथि बुझेको, जानेको र सुनेको अनुभव–कथा किताबको विषय हो ।
पछिल्लो समय दूर–देश पुगेर जीवनप्रतिको आफ्नो दृष्टिकोण बनाउने छोरीको संख्या बढिरहेको छ । झट्ट सुन्दा प्रश्न उठ्छ– छोरीले पनि कतै आमा जन्माउँछन् ? गुमनाम आमाहरूलाई पहिचानसहित पाठकसामु पस्किन सक्ने छोरीहरूको सम्मानका खातिर किताबको नाम ‘छोरीले जन्माएका आमाहरू’ जुराइएको होला भन्ने अड्कल काट्न सकिन्छ । तर, यो तर्कमाथि विवाद हुन सक्ला । पुस्तकको शीर्षकचाहिँ अलि अमिल्दो नै भयो ।

आमाका भोगाइ
‘बड्की मास्टर्नी’ शीर्षकबाट सुरु हुन्छ ‘छोरीले जन्माएका आमाहरू’ को कथा । नवलपरासीको रैथाने चौधरी समुदायकी शान्तिदेवी गुरौको जीवन–संघर्ष पढ्दा कुनै सिनेमाको रिल घुमेझैँ लाग्छ । कसैले अपहत्ते गरेर मन पराएपछि नबुझे, नजानेको मान्छेलाई ज्यान सुम्पेर अघि बढेकी रहिछन् शान्तिदेवी १६ वर्षकै उमेरमा । त्यसरी चलायमान बनेको शान्तिदेवीको जीवनमा सुखान्त सिनेमाको कथाजस्तो सुखभोग लेखिएको रहेछ ।
शान्तिदेवी कमलरीको जीवन लिएर जन्मेकी हुन्छिन् । छोराछोरीसँग अनुभव साट्दा भनेकी छन्, ‘जमिनदारकोमा बस्दा कुनै दुर्व्यवहार हुन्थेन, खान पनि तीन छाक नै पाइन्थ्यो । यो त्यसबेलाको समयको कुरा हो । पेटभरि खान पाउनु र गाली नखानुपरेपछि जीवन दौलत भो ।’ समय र खसमको साथले उनले ठूलो तरक्की गरिन् । छोराछोरी बढाइन्, पढाइन् । र, शान्तिदेवीकी छोरी इन्द्र अमेरिका पुगिन् । शान्तिदेवीलाई तीनपटक घुम्न बोलाइन् । अन्तिमपटक उनी ७४ वर्षको उमेरमा अमेरिका पुगिन् । शान्तिदेवीले समुद्र देखेपछि भनिन्, ‘एक बोतल पानी नेपाल लैजान्छु ।’
अर्की आमा हुन्– राधा कँडेल (रमा मिश्र) । लमजुङमा जन्मेकी राधाको १४ वर्षको उमेरमै बिहे भयो । १७ वर्षमा घर बुहार्तन सम्हालेर आमा भइसकेकी उनको कथा छोरी उमा शर्माले लेखेकी छन् । उमा दुई वर्षकी छँदा आमा फेरि गर्भवती भइन् । सुत्केरी व्यथाले रातभर छटपटाइन् । तर, छेउमा सुतिरहेका श्रीमान्ले त्यो थाहा पाएनन् । उज्यालो हुने बेला रमाले छोरो जन्माइन् । उमा लेख्छिन्, ‘अहिले सम्झिँदा पनि मलाई अचम्म लाग्छ, पेटमा सन्तान भएर आज हो कि भोलि भन्ने अवस्थामा रहेकी श्रीमती रातभर व्यथा लागेर छटपटिरहँदासमेत सँगै सुतिरहेको बुबाले कसरी केही पत्तो पाउनुभएन होला ?’
उमा अमेरिका पुगिन् । नाम चलेको विश्वविद्यालयमा जागिर खाइन् । आमालाई पनि अमेरिका बोलाइन् घुम्न । ‘दुःख नदेखाउने संस्कारबाट आएका कारण जसरी आमाले दुःख लुकाउनुहुन्थ्यो, त्यो मैले सिकें । आमाले हजुरआमाबाट,’ उमाको अनुभव छ ।
किताबकी अर्की पात्र हुन्– राधा पौडेल । ‘मेरी
आमा ः छोटो जीवन, लामो सम्झना’ लेखमा छोरी कमला न्यौपानेले ३७ वर्षकै उमेरमा बितेकी आमा सम्झेकी छन् । आमा बाँचेकी भए अहिले ७६ वर्ष भइसक्ने थिइन् भन्ने परिकल्पनाबाट लेखनीको सुरुआत गर्छिन् उनी । कमलाले चार पुस्तामा समेटिएका महिला सम्झँदा मात्रै आमाबारेको लेखोट तयार हुने पृष्ठभूमि बताएकी छन् । कमलाको बुझाइमा हजुरआमाले देखाएको मार्ग, आमाले हिँडेको बाटो, आफूले लिएको मोड र आफ्नी छोरीले अघि बढाएका पाइला समेटेपछि मात्रै आलेख तयार हुन्छ ।
आमा कृष्ण–भक्त थिइन्, त्यसैले नाम पाइन्– राधा । केही समुदायमा बारहरूका आधारमा नाम राख्ने चलन थियो उबेला । केहीलाई नामै दिइँदैनथ्यो । बिहेपछि श्रीमान्को नाम या पेसासँग जोडेर महिलाले नाम पाउँथे । कमलाकी आमाको स्वभाव कठोर र दिल नरम थियो । एकल आमाले हुर्काएकी परिवारकी जेठी छोरी हुन् राधा । दार्जिलिडमा जन्मेकी राधा श्रीमान्को जागिरका कारण धेरै ठाउँतिर घुमिरहिन् । पाँच सन्तानकी आमा उनले जीवनको अन्तिम सास भैरहवामा फेरिन् ।
अर्की आमा पात्र हुन्, सरिता तामाङ । उनी ठाँटीभञ्ज्याङ रामेछापमा जन्मिएकी हुन् ६१ वर्षअघि । विविध रोग–व्याधिले भएका सन्तान बित्दै गएकाले र छोरा–मोहले डोरिएर सरिताकी आमाले झन्डै दर्जन सन्तान जन्माइन् । त्यसमा सरिता र उनका एक भाइ भने सकुशल रहे ।
गाउँको हुनेखानेकी छोरी सरिताका बुबाले छोरा नजन्मिएपछि सम्पत्तिको के काम भन्दै त्यो सक्ने प्रयास गरे । सम्पत्ति सकिएन । छोरा नभएको पीरमा अत्यधिक मदिरापान गरे र उनको असमयमै मृत्यु भयो । सम्पत्तिवाल युवा विधवामाथि गाउँकै ठूलाबडाको आँखा पर्‍यो । सम्पत्ति लुटपाटै भयो । यो लेख तयार गर्ने जेठी छोरी कल्पनालगायत सात सन्तानको जायजन्म र लालनपालन गरिन् सरिताले । छोरी कल्पनाले राम्रो पढिन् । जागिर खाइन् । आफ्नो खुट्टामा उभिइन् । तीन वर्षअघि अमेरिका आइपुगिन् ।
‘आमाले बाँचेको संघर्षपूर्ण जीवन’ शीर्षकमा छोरी मञ्जु थापाले गुल्मीमा जन्मिएकी आमा ईश्वरादेवी थापाको कथा लेखेकी छन् । आमा बाँचेकी भए अहिले ९० वर्षमा हिँड्दै हुन्थिन् । अहिलेको अर्घाखाँची जिल्लाका नामी पण्डित खलकमा पर्ने पन्थीकी छोरी थिइन् ईश्वरा । उनको विवाह ११ वर्षको उमेरमा ३५ वर्षीय ज्ञवाली ब्राह्मणसँग भयो । विवाहको एक वर्षपछि नै ती ब्राह्मणको मृत्यु भयो र ईश्वरा बालविधवा बनिन् । ११ वर्षीया बालिका, जसलाई पतिको अनुहारसमेत याद थिएन, उनै पतिका लागि ४५ दिन सेतो धोतीमा लपेटिएर बरखी बारिन् ।
छोरी मञ्जुको लेखाइमा ईश्वरा जब वर्षदिनको कामपछि माइत गइन्, माइतीले विधवा भन्दै घरभित्र सुत्न दिएनन् । अनि क्षुब्ध भएकी उनले २४ वर्ष तिनै बितेका ब्राह्मणको थातथलो मानकोटमा बिताइन् । फराकिलो सोच र पीडितका पक्षमा बोल्ने ईश्वराले राजनीतिमा चासो दिइन् । समय–परिस्थितिले ईश्वरालाई नेता बनायो ।
बाल विधवा हुनु । एक्लो जीवन जिउनु । जवान हुनु र समाजमा चेतना छर्न अघि सर्नु । अहिलेका महिलालाई त सहज छैन भने उबेला के भन्थे होलान् समाज, छिमेकी, आफन्त र चिनेजानेकाहरूले ? ईश्वराले कुनै कुराको पर्वाह गरिनन् । परिणामस्वरूप, विसं २०१८ मा उनलाई राजनीतिमा लागेबापत पाल्पा कारागारमा ६ महिना थुनियो ।
३५ वर्षे ईश्वराको हात थाप्न आइपुगे आफ्नो घरबार बिग्रिएका केशरबहादुर थापा । ईश्वराका ६ सन्तान जन्मिए । लगातार महिला संगठनमा काम गरेकी ईश्वराले ४१ वर्षको उमेरमा प्राइभेट विद्यार्थीका रूपमा प्रवेशिका परीक्षा दिइन् ।
किताबकी अर्की आमा हुन्, याममाया विश्वकर्मा । ‘कार्यबोझ र विभेदमा खारिएकी मेरी आमा’ शीर्षकमा सञ्जिता बराइलीले आमामाथि लेखेकी छन् । समाजले ठानेको ‘सो कल्ड’ दलित समुदायमा हुर्केकी याममायाले जन्मेदेखि नै विभेद सामना गरिन् । २०११ सालमा रामेछापमा जन्मेकी उनको १४ वर्ष लाग्दै गर्दा २३ वर्षीय युवासँग विवाह भएको थियो । याममायाले निकै विभेद भोगिन् । याममायाका सात छोराछोरी भए । तिनिहरू बढे, पढे । छोरा पूर्ण बराइली अमेरिका पुगे । छोरी सञ्जितालाई डीभी पर्‍यो । करिब ६ वर्षअघि याममाया र उनका श्रीमान् पहिलोपटक अमेरिका आए, छोराछोरीको निमन्त्रणामा । त्यसयता तीनपटक अमेरिका ओहोरदोहोर गरिसकेका छन् । ६८ वर्षीया याममाया अहिले सपरिवार काठमाडौं बस्छिन् ।
...
हरेक मानिससँग भनिन, सुनिनलायक कथा, व्यथा र घटना छन् । तिनलाई ध्यानसँग सुनिएको, लेखिएको छैन । अझ महिलाको जीवनी कमै लेखिएको छ । यस पुस्तकमा समेटिएका १२ आमाका प्रत्येक जीवनकहानी एक पूर्ण पुस्तक बन्नलायक छ ।
महिलासँग भनिनुपर्ने, लेखिनुपर्ने धेरै कथा छन् । तर, पद र प्रतिष्ठा नभएकाहरूको जीवनी लेख्ने चलन छैन । इतिहासै पनि जित्नेहरूको लेखिन्छ । जितमा पनि पुरुषहरूकै नाम आउँछ । यसै पनि पद, प्रतिष्ठामा पुग्ने महिला अत्यन्तै कम छन् । अब वैकल्पिक इतिहास लेखिनुपर्छ । त्यो इतिहास महिलाहरूको हुनेछ जसले घर, समाज र राष्ट्र बनाउन योगदान दिएका थिए ।
आमाहरूको यो संघर्ष–कथाले नेपाली महिलाहरूको जीवन पढ्न सघाउँछ । यी कथा–खजानाका आमाहरू समावेशी तवरबाट जुटाइएका छन् । पुस्तकले तत्कालीन समाजको राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ, शिक्षा लगायत तमाम विषयमा बोलेको छ । पुस्तकमा सुधार्नुपर्ने केही विषय छन् । जस्तो– जन्ममिति राखेपछि निधन भएकाहरूको मिति पनि सँगै राखिएको भए पाठकलाई सजिलो हुने थियो । कल्पना तामाङले लेखेको आलेखलाई लेखक–परिचयमा ‘आमा कल्पना तामाड’ भएको छ (पृष्ठ. १७९) । यो ठूलो गल्ती होइन, तर नामै गल्ती भएकाले अन्योल हुन सक्छ । सञ्जिताले लेखेको लेखमा ‘...मेरी आमा हर रात एक घण्टा पनि सुत्न पाउनुहुन्थेन...’ भन्ने वाक्य विश्वासयोग्य लाग्दैन ।
पत्रकार जयदेव गौतमले सम्पादन गरेको यो किताबलाई महिलाका दृष्टिकोणबाट समाज चियाउने एक
आँखिझ्याल मान्न सकिन्छ । किताब अक्षर क्रिएसन्सले प्रकाशन गरेको हो ।

 

Page 12
कोसेली

लिखित देवनागरीको अलिखित इतिहास

- माधव प्रसाद पोखरेल


आज देवनागरी लिपि नेपालमा मात्र होइन, भारतमै पनि सबभन्दा प्रचलित लिपि हो । यस लिपिमा नेपाली, हिन्दी, मराठी, कोंकणी र डोगरी जस्ता आर्य भाषा मात्र होइन, अन्य परिवारका भाषा पनि लेखिन्छन् । हाम्रो उपमहाद्वीपमा सबभन्दा धेरै मानिसले यस लिपिमा लेखेको कुरो सजिलै पढ्न सक्छन् । नेपालमा मात्र होइन, भारतमा पनि अलिखित भाषाहरू लेख्न थाल्दा देवनागरीमा लेख्ने चलन छ, खालि विदेशीहरूले चाहिँ रोमन लिपि चलाएको देखिन्छ । आफ्नो छुट्टै लिपि नभएका मातृभाषा लेख्न मात्र होइन, आफ्नो छुट्टै लिपि भएका मैथिली (मिथिलाक्षर), भोजपुरी (कैथी), नेवार
(रञ्जना, भुजिमोल, पाचुमोल, गोलमोल, आदि अनेक लेखन शैली), लिम्बु (सिरिजङ्गा, लिपि), गुरुङ, तामाङ र मगर भाषा लेख्न पनि देवनागरी नै बढ्ता चलेको देखिन्छ र ती मातृभाषीहरूमा
आफ्नो भनिने लिपि पढ्न सक्ने एक प्रतिशत सख्या पनि पाइँदैन । तिनीहरूमध्ये पनि देवनागरी लिपि मात्र पढ्न सक्ने साक्षरकै बहुमत छ ।
नेपाल–भारतमा सबभन्दा प्रचलित देवनागरी लिपि आठौँ शताब्दीतिर महाराष्ट्र (कोल्हापुर, ७५४ इ) मा केही फरक शैलीमा लेखिन्थ्यो अनि त्यसलाई ‘नन्दीनागरी’ भन्ने चलन थियो । यसैले गर्दा यी दुइटै नाउँबाट अघिल्लो शब्द झिकेर भारतमा यसलाई ‘नागरी’ लिपि मात्रै भन्ने पनि चलन छ । लिपिका अनुसन्धाताहरू (ओझा, बुह्लर) ले पनि नागरी लिपि मात्र भनेको पाइन्छ । दुइटै नाउँ दशौँ शताब्दी पछि मात्र भेटिन्छन् ।
मैले मातृभाषीहरूसँग सामूहिक अन्तरक्रिया गरेर नेपालका ६९ ओटा अलिखित भाषाहरूको वर्णमाला बनाएको छु । वर्ण वैज्ञानिक विश्लेषण गरेर मातृभाषीहरूले दिएका अर्थमा फरक पार्ने उच्चारण भेद छुट्याउने लघुतम युग्म (एक जोडा शब्द) का आधारमा मैले बनाइदिएका मातृभाषाहरूका ती वर्णमालाहरूमा नेपाली उच्चारणसँग मिल्ने वर्णलाई नेपाली जस्तै गरी लेख्ने र नेपाली उच्चारणसँग नमिल्ने उनीहरूको मातृभाषाका वर्णलाई प्राय नजिकको देवनागरी संकेतमा ‘तल्थोप्ली’ राखेर अथवा सकेसम्म थोरै उपचिन्ह थपेर लेख्ने अनुशासन बनाएको छु । संसारभरका लिपिमा पनि थोप्लो सबभन्दा पहिले रोजिने उपचिन्ह हो (ज्वायस र बोर्ग्वाल्ट, २०१३ इ, ‘टाइपोलोजी अफ राइटिङ सिस्टम्ज’) । अहिले ‘गोरखापत्र’ को ‘नयाँ नेपाल’ स्तम्भमा ठाउँ पाएका झन्डै ४० ओटा मातृभाषामध्ये धेरैजसो मैले वर्ण निर्धारण गरीदिएका भाषाहरू छन् । मैले पुणें विद्यापीठबाट ध्वनि विज्ञान र वर्ण विज्ञानमा विद्यावाचस्पति गरेर (२०४६) फर्केपछि लिम्बु भाषादेखि थालेर आजसम्म ६९ भाषाको वर्णमाला पुर्‍याएको हुँ ।
हाम्रो उपमहाद्वीपका लिपिको ऐतिहासिक विकास क्रमबारे पहिलो पुस्तक (१८९४ इ, ‘भारतीय लिपिमाला’) लेख्ने गौरीशङ्कर ओझा (१९१८ इ, ‘प्राचीन भारतीय लिपिमाला’) अनुसार, यहाँको पहिलो लिपि त सिन्धु सभ्यताको लिपि (इपू २६००–१९००) नै हो, तर देवनागरी लगायत उपमहाद्वीपका सबै विकसित लिपि चाहिँ ब्राह्मृी लिपिकै बचरा हुन् । उपमहाद्वीपको वायव्य कोणमा अशोककै शिलालेख पनि ब्राह्मी लिपिमा मात्र नभएर खरोष्ठी लिपिमा पाइएका छन् । खरोष्ठी लिपि उर्दू र अरबी जस्तो दाहिनेबाट देब्रे तिर पढिन्थ्यो, तर ब्राह्मी चाहिँ प्राय देवनागरी जस्तै देब्रेबाट दाहिने तिर पढिने भए पनि केही अभिलेख चाहिँ दाहिनेबाट देब्रे तिर पढिने पनि भेटिएका छन् । बुह्लर (१८९८ इ, ‘अन द ओरिजिन अफ द इन्डियन ब्राह्म अल्फाबेट’) ले ब्राह्मी लिपि इपू. आठौँ–सातौँ शताब्दी तिर मेसोपोटामियामा सिरियादेखि प्यालेस्टाइन सम्म चल्ने सेमेटिक आरामाइक लिपि (होल्जर जेला, २०२१ इ, ‘आरामाइक’) बाट विकसित भएको प्रमाणित गरेका छन् भने, ओझा चाहिँ त्यो मान्न तयार छैनन् ।
मेसोपोटामियाको छिमेकका इरानी शासक (मिड, अखामनी, पारसी, पार्थ, सासानी) हरू आरामाइक लिपि नै चलाउँथे । सबभन्दा पहिलो पुरातात्त्विक उल्लेख भएको इरानी जाति चाहिँ ‘मिड’ हो (इपू ८८१, असिरियाली अभिलेख, रिचार्ड फोल्ज, २०१६ इ, ‘इरानियन वर्ल्ड हिस्ट्री’) । इपू ६७८–५४९ मा बलियो मिड गणराज्य नै थियो । इपू आठौँ–सातौँ शताब्दीमा मिडहरूले असिरिया नै कब्जा गरे । कसैकसैले इपू १५००–१४०० छेक थोरै समयसम्म कश्यप सागरदेखि भूमध्य सागरसम्म माथिल्लो मेसोपोटामियामा शासन गर्ने घोडा सधाउन सिपालु मितन्नीहरू (चार्ल्स रिभर, सं, ‘द किङ्डम अफ मितन्नी’) पनि मिडहरू नै हुन् भन्ने ठानेका छन् । मितन्नीहरूले भूमध्य सागरको छेवैछेउ इजिप्ट सम्म पनि आफ्नो प्रभाव जमाएका थिए । उनीहरूका अभिलेखमा मित्र, वरुण, नासत्य र इन्द्र जस्ता चार ओटा वैदिक देउताहरूका नाम पनि पाइन्छन् । ऋग्वेद भन्दा पुरानो संस्कृत भाषाको नमुना (इपू १४००) पनि उनीहरूकै लेखोटमा पाइन्छ ।
इपू ५५० मा ती मिडहरूलाई अखामनी सम्राट् साइरसले हराए । त्यसपछि इरानी शासकहरूको शासन मेसोपोटामिया, इरान, आर्मेनिया, मध्य एसिया, अफगानिस्तान र वर्तमान पाकिस्तानको सिन्ध (हिन्द) प्रान्तसम्म झन्डै सातौँ शताब्दी (६५१ इ) सम्म चल्यो । युरेसियाका विस्तृत फाँटमा इरानीहरूका बगालहरू जताततै छाप्छाप्ती थिए (कुज्मिना, ‘द ओरिजिन्ज अफ इन्डो–इरानियन्ज’) । छापामार युद्ध गर्न सिपालु ती इरानी बगालहरू आपसमै एकअर्कालाई सिध्याउने होडमा थिए, त्यसैले गर्दा अखामनी सम्राट् साइरस र दारिउसकै अस्तित्वका लागि युक्रेनका शकहरू नै खतरा थिए । ती इरानीहरूको आपसी वैमनस्यले गर्दा नै अलेक्जान्डरलाई इरानीहरूकै माटो जित्न सजिलो भयो अनि ७५१ इ. मा अरबहरूलाई इरान कब्जा गर्न र धेरैजसो इरानीलाई मुसलमान बनाउन पनि सजिलो भयो । आफु मुसलमान भएपछि त अरुलाई व्यापक रूपमा मुसलमान बनाउन इरानीहरू नै लागे । इरानीहरूका माटामा अलेक्जान्डर (इपू चौथो शताब्दी) को दिग्विजयपछि निकै समय ग्रिसेलीहरूको प्रभुत्व रह्यो (कुहुर्त, २००७ इ, ‘द पर्सियन एम्पायर’) । इरानी शासनमा आरामाइक लिपिकै प्रयोग हुन्थ्यो । पहिले त शासनको भाषा पनि आरामाइक थियो, तर पछि इरानी भाषा लेख्न नै आरामाइक लिपि चलाइयो । अशोक (इपू २७५) का पालादेखि मात्र उपमहाद्वीपमा ब्राह्मी लिपि व्यापक भयो । समयक्रममा कलम नउचाली लेख्नाले (अटुट लेखन) ब्राह्मी (इपू ५००–३०० इ) बाटै क्रमशः गुप्त लिपि (चौथो–पाँचौँ शताब्दी) र कुटिल लिपि (छैटौँ–नवौँ) हुँदै नागरी लिपि बनेको हो । नेपालमा गुप्त लिपिलाई लिच्छवि लिपि भन्ने चलन छ (हेमराज शाक्य, २०२६, ‘अभिलेख प्रकाश’, २०३०, ‘नेपाल लिपि प्रकाश’) । कुटिल लिपिलाई नै पूर्वी भारत र पूर्वी एसियामा संभवतः तान्त्रिक प्रभावले गर्दा सिद्धमातृका अथवा सिद्धम् लिपि भनिन्छ ।
सिंह (१९९० इ, ‘डिभेलप्मेन्ट अफ नागरी स्क्रिप्ट’) अनुसार, कुटिल लिपिबाटै तिब्बती लिपि, काश्मीरतिर प्रचलित शारदा लिपि, पूर्वी भारतमा प्रचलित गौडी लिपि र नागरी लिपि विकसित भएका हुन् । शारदा लिपिबाटै गुरुमुखी (पंजाबी) विकसित भएको हो भने गौडी लिपिबाट उडिया, बंगाली, असमिया, नेवारी र मैथिली लिपि विकसित भएका हुन् ।
ओझा अनुसार देवनागरी लिपिको बान्की सबभन्दा पहिले छैटौँ शताब्दीका गुप्त राजा यशोवर्मनको ‘मन्दसोर अभिलेख’ (मध्य प्रदेश, ५२० इ) मा देखापरेको हो । ओझाका लिपिपत्र (२४–२७) अनुसार, देवनागरी लिपि दशौँ शताब्दीदेखि गुजरात (जाइंकदेव, ९०४ इ), राजस्थान (प्रतिहार राजा, ९५९ इ) र नेपालमा प्रचलित रहेछ । प्रतिहार राजाहरू नागभट (बुचकला, ८१५ इ), बाउक (जोधपुर, ८३७ इ) र कक्कुक (घटियाला, ८६१) का अभिलेखमा यशोवर्मनको अभिलेख (छैटौँ शताब्दी) र दशौँ शताब्दीको देवनागरी बिचको स्वरूप पाइन्छ ।
सिंह (तेस्रो अध्याय) लेख्छन्, देवनागरी लिपि क्रमशः ब्राह्मीबाटै विकसित भए पनि पाँचौँ शताब्दी (गुप्त काल) देखि अलिक बढ्ता अचेलको बान्की मिल्ने हुँदै आयो । छैटौँ शताब्दीदेखि मन्दसोर (५२० इ, मध्यप्रदेश) देखि बोधगया
(५८८ इ, बिहार) मा कुटिल लिपिको बान्की थालियो (ओझा) । अक्षरलाई कलात्मक बनाएर घुमाउने र सिँगार्ने त्यो लिपिको चलन सातौँ शताब्दी पछि झन्झन् आजको बान्कीको नजिक हुँदै आयो । नागरी लिपि आधारभूत रूपमा गुजरात र महाराष्ट्रदेखि उत्तरतिर विकसित भयो र नवौँ शताब्दीको प्रारम्भदेखि यसलाई आजको रूपमा ल्याउन महाराष्ट्र, गुजरात र मालवाका राष्ट्रकूट (राठौड) हरू, बंगालका पालहरू (पूर्व) अनि कन्नौज र उत्तर भारतका प्रतिहारहरू (पश्चिम) को मुख्य भूमिका छ । सामनगढ (महाराष्ट्र) को अभिलेख (दन्तिदुर्ग, कोल्हापुर, ७५४ इ) नै नागरी लिपिको सबभन्दा पुरानो रूप हो (बुह्लर) ।
नवौँ शताब्दीको प्रारम्भदेखि नै राठौडहरूले चाहिँ सबैभन्दा पहिले र पछिसम्म अरूलाई जितेर देवनागरीको प्रचारमा मुख्य भूमिका खेले । बंगालका पालहरूले यसलाई पूर्वतिर (बिहार, बंगाल, ओडिसा र असम) फैलाए र प्रतिहारहरूले अलिक व्यापक (उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात, उत्तराखण्ड र पन्जाब) बनाए । उत्तराखण्ड, पश्चिम नेपाल र कैलास मानसरोवर क्षेत्रको इतिहासमा पनि दशौँ–एघारौँ शताब्दी तिरयिनै राजाहरूको चक्चकी थियो । कर्नाली प्रदेश नै पुर्ख्यौली हुने पानी पोखरेल लगायत सबै आत्रेय र अत्रि गोत्र हुने छेत्रीबाहुन र चौँतिस ओटा चन्द्रवंशी बाइसी चौबिसी राजाहरूको पुर्ख्यौली पनि कन्नौजका तिनै शासक (राठौड, पाल र प्रतिहार) सँग जोडिएको वंशावली इटालीका पुरातत्त्वविद् टुची (१९५६ इ, ‘प्रिलिमिनरी रिपोर्ट अन टु सायन्टिफिक एक्स्पेडिसन्ज अफ नेपाल’) ले प्रकाशित गरेका छन् । ती राजाहरूले जारी गरेका अभिलेखहरू मूलतः देवनागरी लिपिमै छन् । टुची (१९६२ इ, ‘नेपाल ः द डिस्कभरी अफ द मल्ल’) ले नै एघारौँदेखि चौधौँ शताब्दीसम्म पश्चिम तिब्बतको मानसरोवर क्षेत्रको ताक्लाकोटमा गर्मीको राजधानी र नेपालको सिँजामा जाडाको राजधानी बनाएर राज्य गर्ने काश्मीरदेखि कर्नाली प्रदेश र तिब्बत सम्म (हिमाचल प्रदेश, गढवाल, कुमाउँ हुँदै) खस मल्ल राजाहरूको पुरातात्त्विक इतिहास फेला पारे ।
नेपालमा मल्ल थर भएका राजनीतिक शक्तिहरू इतिहासका तीन चरणमा देखिन्छन् ः बुद्धकालमा कुसिनारामा मल्ल गणराज्य, बाह्रौँ शताब्दीमा कर्नाली प्रदेशमा नागवंशी खस राजाहरू र तेह्रौँ शताब्दीदेखि नेपाल उपत्यकामा मिथिलासँग निकट साइनो भएका नेवार राजाहरू, तर तिनीहरू बिचमा कुनै पारिवारिक साइनो पाइँदैन । यिनीहरूमध्ये देवनागरी लिपि पहिले चलाउने चाहिँ कर्नालीका खस मल्लहरू हुन् ।
काश्मीरको इतिहास (स्टेइन, १९०० इ. ‘कल्हणज रागतरङ्गिणी’) मा नाग, मल्ल र खसहरू एउटै वंशमा जोडिन्छन् । त्यहाँ शक सम्राट् कनिष्कलाई पनि एकैचोटि नाग, तुरुष्क (तुखार/तुषार/तोखार) र कुषाणवंशी भनेर चिनाइएको छ । सिजाको इतिहासमा घरज्वाइँ भएर पुण्य पाल पुण्य मल्ल भएजस्तै जयापीडका बाजे ललितादित्य पनि घरज्वाइँ भएर नागवंशी भएका थिए । खस राजा अशोकचल्लसँग अनुप्रास मिल्ने लल्ल, टुल्ल, भुल्ल, सुल्ल र राजल्ल आदि अनेक नाउँ त्यहाँ पाइन्छन् । ‘राजतरङ्गिणी’ मा खसहरूले अफगानिस्तानदेखि काश्मीर (हुँदै सम्भवतः कालीगण्डकी) सम्मको ठाउँ ओगटेको उल्लेख छ । आठौँ शताब्दीमा कन्नौजदेखि बंगालसम्म जित्ने काश्मीरका राजा जयापीडलाई कालीगण्डकी तिरमा नेपालका राजा अरमुडि (मगर कि खस) ले हराएर बन्दी बनाएका थिए, पछि मन्त्रीले भगाए । अर्थात्, कर्नाली प्रदेशका खस मल्ल राजाहरू चाहिँ कन्नौजबाट खसान छिरेका राठौड र गुर्जर–प्रतिहारवंशी होइन रहेछन् ।
योगी नरहरिनाथ (२०१३, ‘इतिहासप्रकाश’) ले पहिले नै दुल्लुमा भेटेर प्रकाशित गरेको देवनागरी लिपिकै एउटा अभिलेखलाई पूर्णप्रकाश नेपाल यात्री (२०३९, ‘राजा गगनिराजको यात्रा’) ले नेपाली भाषाको सबभन्दा पुरानो अभिलेख (‘दामुपालको शिलालेख’, सं १०३८) भन्ने दाबी गरेर प्रकाशित गरे । त्यस अभिलेखको ऐतिहासिक, भाषा वैज्ञानिक र लिपि वैज्ञानिक समीक्षा (२०५६, ‘दामुपालको शिलालेखको कालनिर्णय’) गरेर मैले त्यो अभिलेख १३ औँ शताब्दीको ठहराएको छु । देवनागरी लिपिमा अक्षर माथि डिको तान्ने चलन चाहिँ दशौँ शताब्दी पछाडि मात्र थालिन्छ । त्यसमा पनि ‘प, म, य, ष, स’ का दुइटै घोचा जोड्ने चलन त ११ औँ शताब्दी पछि मात्र थालियो (ओझा, ६८–७०) । दामुपालका शिलालेखमा दुइटै घोचा जोडिएकाले त्यो ११ औँ शताब्दी भन्दा अगाडिको हुनै सक्तैन । कान्नानी, लक्कानो र उकार पनि एघारौँ शताब्दी भन्दा अगाडिको जस्तो छैन (बापुराओ नाइक, १९७१ इ, ‘टाइपोग्राफी अफ देवनागरी’) । भकार र मकारको बान्की चाहिँ १२ औँ शताब्दी भन्दा अगाडिको होइन (ओझा, नाइक) । खस राजा अक्षय मल्ल (१२७० इ) का शिलालेखदेखि मात्र नेपाली अभिलेखमा क्रिया भेटिन्छ । दामुपालको शिलालेखमा चाहिँ ‘रेष भइ’ भन्ने क्रिया भएकाले यो अभिलेख १३ औँ शताब्दी भन्दा अगाडिको होइन । यस हिसाबले दुल्लुमै भेटिएको बामु खँड्काको ११ औँ शताब्दीको अभिलेख (मोहन प्रसाद खनाल, २०६७, ‘नेपाली भाषाका हजार वर्ष’) नै अहिलेसम्म फेला परेको नेपाली भाषाको सबभन्दा पुरानो अभिलेख हो र त्यो देवनागरी लिपिमै लेखिएको छ ।
हाम्रो उपमहाद्वीपको सबभन्दा पुरानो लिपि त सिन्धु र सरस्वती नदीको बेँसीको लिपि हो । त्यस लिपिलाई पढ्न सकेको दाबी धेरैले गरेका भए पनि भारतीय विद्या शिरोमणि फिनल्यान्डका प्राध्यापक अस्को पर्पोला (१९९४ इ, ‘डिसाइफरिङ द इन्डस स्क्रिप्ट’) को विश्लेषण, व्याख्या र पठन सबभन्दा पत्यारिलो छ । प्राचीन ग्रिसेली अभिलेख
(लिनियर ए र बी) पढ्न माइकल भेन्ट्रिस (१९५१ इ, ‘अ प्रिलिमिनरी एनालिसिस अफ लेङ्गवेज कन्टेन्ड इन द माइसेनियन आर्काइभ्ज फ्रम पाइलोस इन मेस्सेनिया’) ले अनि मेसोपोटामियाको लिपि र इजिप्टको लिपि पढ्न गेल्ब
(१९५२ इ, ‘फन्डामेन्टल्ज अफ राइटिङ ः द फाउन्डेसन्ज अफ ग्रम्याटोलोजी’, ‍१९७५ इ, ‘मेथड्ज अफ डिसाइफर्मेन्ट’) ले जुन विधि (रिबस प्रिन्सिपुल) को आविष्कार गरे, त्यही विधि अपनाएर पर्पोलाले हडप्पाको लिपि पढ्न प्रयोग गरेका छन् । पर्पोलाको विश्लेषणमा त्यहाँ द्रविड भाषा प्रयोग भएको छ ।
श्रीनिवास कल्याणरमण (२०१५ इ, ‘सरस्वती–सिन्धु सिभिलिजेसन एन्ड इन्टर्‍याक्सन्ज इन एन्सिएन्ट नियर इस्ट, युरेसिया एन्ड एन्सिएन्ट फार इस्ट’) ले चाहिँ ‘सरस्वती सभ्यता’ भन्ने एउटा परियोजनाको नेतृत्व गरी रहेका छन् । त्यस परियोजनामा पुरातत्त्वविद्, इतिहासकार, भाषा वैज्ञानिक, वैदिक र पौराणिक साहित्यका पण्डितहरू, संस्कृत, द्रविड र आग्नेय भाषाका पण्डित, मानव शास्त्री, समाजशास्त्री र लोकविद्याका विद्वान्हरू सबै संयुक्त रूपमा मिलेर काम गरिरहेका छन् । पर्पोलाले सिन्धु–सरस्वती बेँसीमा पाइएको भाषालाई द्रविड मात्र ठहराएका छन् भने, ‘सरस्वती सभ्यता’ परियोजनाले ‘रिबस सिद्धान्त’ कै आधारमा आएका निष्कर्षमा चाहिँ सिन्धु–सरस्वती सभ्यताले चलाएको लिपिमा अङ्कित भाषा विश्लेषणका आधारमा यस उपमहाद्वीपका आग्नेय, द्रविड र संस्कृत भाषा बोल्ने कलाकार र शिल्पकारहरूको साझे सम्पर्क भाषा भन्ने निकालेको छ । परियोजना अझै चालु छ, तर जे भए पनि सिन्धु–सरस्वती लिपिको देवनागरीको माउ लिपि ब्राह्मीसँग कुनै साइनो गाँसिएको छैन ।
लिपिको आविष्कार संसारमा सबभन्दा पहिले मेसोपोटामियामै भयो । पर्पोला (१९९४ इ, पृ. १८) ले संसारका प्राचीन लिपिको तुलनात्मक काल प्रकाशित गरेका छन्, जस अनुसार सुमेरियाली चित्राक्षर (इपू ३३००), इलामे चित्राक्षर
(इपू ३१००), इजिप्टेली चित्राक्षर (इपू ३०००), हडप्पा लिपि (इपू २५००), सेमेटिक कखरा (इपू १६००), ग्रिसेली कखरा (इपू ९००) र ब्राह्मी अक्षर (इपू ३००) को क्रम देखिन्छ ।
पहिले पहिले युरोपेलीहरूले उनीहरूको जस्तो कखरात्मक लिपिलाई सबभन्दा विकसित लिपि ठहराएका थिए, तर
आज वर्ण विज्ञान र स्नायु विज्ञानले चाहिँ अक्षरलाई जुनसुकै भाषाका व्याकरणको आधारभूत एकाइ ठहराएकाले चिनियाँ, जापानी र देवनागरी जस्ता एक मुल्को सासमा एउटा अक्षर उच्चारण गर्न सकिने लिपि नै कखरात्मकभन्दा आदर्श र मौलिक मानिएको छ ।
मेसोपोटामियामा सार्गोन (इपू २३००–२२००) ले शासन गरेका बेलामा सिन्धु बेँसी र मेसोपोटामियाका बीचमा सामुद्रिक र स्थल व्यापार भएको पुरातात्त्विक प्रमाण फेला परेको छ, जसमा हडप्पाका केही सर्दाम खाडीदेश र मेसोपोटामियामा र मेसोपोटामियाका सर्दाम सिन्धु बेँसीमा भेटिएका छन् । भगवान् शिव र सिंहवाहिनी भगवतीको साइनो पनि मेसोपोटामियासितै गाँसिने देखिन्छ (ब्ल्याक र ग्रिन, १९९८ इ, ‘डिक्सनरी अफ गड्ज, डेमोन्ज एन्ड सिम्बोल्ज अफ मेसोपोटामिया’) । मेसोपोटामियामा हडप्पाका मान्छेलाई ‘मेलुह्हा’ (म्लेच्छ ?) भन्दा रहेछन् । यसरी हडप्पाको लिपि पनि मेसोपोटामियाको लिपिको प्रभावमा विकसित भएको हो कि भन्ने अड्कल गर्न सकिने पनि ठाउँ छ ।

कोसेली

अंग्रेजी ज्ञानको नेपाली राजनीति

- अभि सुवेदी

अंग्रेजी भाषाको ज्ञान राजनीतिसँग जोडिन्छ, शक्तिसँग जोडिन्छ, अभिजात वर्गसँग जोडिन्छ । नेपालमा पनि त्यही लागू हुन्छ भन्ने सिद्धान्त उच्चारण गरिनसक्दै विनिर्माण भइसक्छ । थाहा पाऊँछु, त्यो विनिर्माण मबाटै सुर हुन्छ । तल यसको प्रसङ्ग आउँछ ।
फ्रान्सेली दार्शनिक ज्याक डेरिडाले भने, ‘अमुक कुराहरूको भनिनसक्दै विनिर्माण भैसकेको हुन्छ ।’ नेपालमा अंग्रेजी भाषा शक्तिमा आसीन, धनवान् र अभिजात वर्गसँग जोडिन्छ भन्ने मान्यता निकै बलियो थियो र सायद अहिले पनि छ । ०२६ सालतिरको मेरो एउटा संस्मरण वाचाल छ । म कीर्तिपुरको केन्द्रीय अंग्रेजी विभागमा अंग्रेजीको विद्यार्थी थिएँ । विद्यार्थी युनियनले मलाई सांस्कृतिक सचिव बनाएको थियो । मैले त्यसैअन्तर्गत कीर्तिपुर क्याम्पस परिसरको अहिले पनि प्रयोगमा आइरहेको हलमा अनेकौं प्रवचन, साहित्य र संगीतका कार्यक्रम गरें । तिनैमध्ये काठमाडौ आएका अम्बर गुरुङको त्यही हलमा गरिएको संगीत कार्यक्रम महत्त्वपूर्ण थियो । दोस्रो कार्यक्रम प्रवचनको थियो । त्यसमा भर्खर अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा ग्य्राजुएट गरेर आएका लक्काजवान पशुपतिशमशेर राणा थिए । उनलाई साथी स्व. गिरिबहादुर केसीको सहयोगले ल्याएँ । डा. केआई सिंहलाई आफैं गएर ल्याएँ । यहाँ प्रसङ्ग अंग्रेजीको छ । पशुपतिशमशेर सहज रूपमा नेपाली बोल्दैनथे । आखिर विश्वविद्यालयको कार्यक्रम हो भनेर उनले अंग्रेजीमा बोले । ब्रिटिसले जस्तै बोले । त्यसपछि केआई सिंको पालो आयो । उनले सुरुमै स्वर तानेर बोले । मलाई प्रस्टै सम्झना छ । उनले भने, ‘भाइबहिनी हो, अहिले सुनिहाल्नुभयो । पशुपतिशमशेर राणाले कति रामरी अंग्रेजी बोले । हाम्रा बाबुबाजेले पनि यो देशमा एक सय चार वर्ष एकछत्र शासन गरेका भए हामी पनि त्यसरी नै अंग्रेजी बोल्ने थियौं,
हँ !!’ केही हाँसो भयो ।
अंग्रेजी भाषाबारे केआई सिंहको जस्तो नेपालमा एउटा आमधारणा थियो । त्यो धारणा निकैपछि र कति मात्रामा अहिले पनि छ होला । तर, अंग्रेजी शासन नभएको स्वतन्त्र देश नेपालमा अंग्रेजीको ज्ञान र शिक्षाको राजनीतिलाई अलिक फरक ढंगले हेर्नुपर्छ भन्ने प्रस्ट भइसकेको छ । अहिलेको अवस्था हेर्दा अंग्रेजी भाषाको शिक्षाले दिएको ज्ञानभन्दा स्वतन्त्र रूपले विकसित अंग्रेजी भाषाको प्रयोग व्यापक भएको छ । त्यसमा अंग्रेजी भाषाका मिडिया र अंग्रेजीमा ग्रन्थ लेख्नेका काम पर्छन् । मेरो धारणा छ, ती सबै प्रयोगमा केआई सिंहको जस्तो धारणाले काम गर्दैन । तर, अंग्रेजी शिक्षण गर्नेको अंग्रेजी भाषा ज्ञानको प्रयोग र राजनीतिमा ठूलो सम्वन्ध छ । मेरा आफ्ना केही अनुभव भन्नु उपयुक्त हुन्छ । ती अरू शिक्षकका पनि अनुभव हुन्छन् । मैले ५२ वर्षजति अंग्रेजी भाषा कलेज र उच्च तहमा पढाएँ । कलेजमा अंग्रेजी पढाउँदा शेक्सपियरदेखि अरू लेखकका साहित्यको आधार राखिन्थ्यो । विद्यार्थीहरूलाई त्यसरी नै अंग्रेजी पढाउँथ्यौं ।
यी भर्खरै प्रधानमन्त्री भएका प्रचण्डलाई पाटन कलेजमा शेक्सपियरका कथाबाट अंग्रेजी पढाएको हुँ । ती गुरिल्लाका नेता र कमिनिस्ट दर्शन बोकेका प्रचण्डले मैले पढाएको अंग्रेजीको माध्यम बनाएर ज्ञानको राजनीति गरे भन्ने कुरा सम्भव छैन । यो एउटा वाचाल उदाहरण हो । अरू धेरैलाई अंग्रेजी भाषा त्यसरी नै पढायौं । म अहिले पनि विद्यावारिधि वा एमफिल तहमा केही कक्षाहरू लिँदै छु । अंग्रेजी भाषाको केन्द्रीय विभागमा ‘हेड’ भएँ । नेपालमा अंग्रेजी भाषाको उच्च तहमा कस्तो पाठ्यक्रम पढाउने भन्ने कुराको नीति र संरचना बनाउने क्रममा संलग्न भएँ । विद्वान् साथीहरूसँग काम गरें । अंग्रेजी विषयको नीति र पठनपाठनको यति लामो समयसम्म काम गर्ने र गरिआएको मेरो अंग्रेजी भाषा र यसको ज्ञान प्रसंगसँग गहिरो सम्बन्ध छ । तर, मूल कुरा अर्को छ । मैले अंग्रेजी कुनै उच्च खर्चिला स्कुलहरूमा पढिनँ । उतै तेह्रथुमका स्कुलहरूमा पढें । स्कुल बिदामा आमाको आदेशले गोठालो हुँदा चरिरहेका भैंसीको ढाडमा बसेर अंग्रेजीका किताब पढ्थें । त्यसरी रूसी उपन्यासकार दोस्तोएभ्स्कीको ‘ब्रदर्स कार्माजोभ’ भन्ने उपन्यास निकै समय लाएर पढेको स्मृति बलियो छ । पछि अंग्रेजी मेरो सपनासँग जोडियो । त्यही भाषाको माध्यमबाट ज्ञानका ढोका खुले । शक्ति र राजनीतिका आयाम बुझ्ने ढोका खुले । अहिले पनि त्यो क्रम जारी छ । मैले मात्र होइन सँगै काम गरेका र मलाई अंग्रेजी उच्च तहमा पढाउँने गुरुहरू स्व. कमलप्रकाश मल्ल, मोहन लोहनी र स्व. नरसिंहनारायण सिंह अनि ‘कलिग’ हरू श्रीधर लोहनी, स्व. डीपी भण्डारी, स्व. रामेश्वर अधिकारीहरूको पनि अंग्रेजी भाषाको ज्ञान कुनै अभिजात वर्ग भएर र अंग्रेजी भाषाका स्कुलहरू पढेर भएको होइन । हामीले अंग्रेजीमा एमए पढाएका कोही विद्यार्थीहरू शिक्षण र परराष्ट्र सेवाबाट निवृत्त भएका छन् भने कोही अमेरिकी विश्वविद्यालयहरूमा पढाउँछन्, अंग्रेजीका विद्वान् लेखक भएका छन् । भाषा र ज्ञानको सम्बन्ध वाचाल विषय हो । भाषा जानेर वा त्यसको प्रयोग गरेर शक्ति जन्माउने, त्यसबाट राजनीति गर्ने एउटा सैद्धान्तिक विषय हो ।
यसको मीमांसा धेरै भएका छन् । ज्ञानलाई लिएर राजनीति गर्ने विषयमाथि बलियो दर्शन बनाएका फ्रान्सेली मिसेल फुकोसँग पनि यो विषय जोडिन्छ । यस छोटो लेखमा त्यतातिर लाग्न सम्भव भएन । तर, अंग्रेजी भाषाको राजनीतिसँगको सम्बन्ध विषयमा अंग्रेजी उपन्यासकार जर्ज अर्वेलले सन् १९४६ मा लेखेको ‘पोलिटिक्स एन्ड द इङ्लिस ल्याङ्ग्वेज’ भन्ने निबन्ध युगान्तकारी भएको छ । उनले त्यसमा अंग्रेजी भाषालाई ज्ञानको दुरुपयोग गरेर कसरी प्रयोग गरिंदै आएको छ भन्ने मीमांसा गरेका छन् । ‘डिक्टेटर’ हरूले कसरी आफ्ना कठोर र प्रतिगामी कामको ढाकछोप गर्न अंग्रेजी भाषालाई बङ्ग्याएका छन् भन्ने उनको तर्क छ । भाषालाई प्रस्ट र सरल किसिमले प्रयोग गर्नुपर्छ, तर छलछाम गर्नेले त्यसरी प्रयोग गर्दैनन् । त्यसलाई भाषा ज्ञानको राजनीति भनिन्छ । यो कुरा जुनसुकै भाषामा पनि प्रयोग हुन्छ । जर्ज अर्वेलले अंग्रेजी मूल कुरा गर्नबाट वञ्चित हुँदै छ भनेको कारण त्यस्तै थियो । भाषामा ज्ञानको राजनीति भन्नेबित्तिकै त्यही कुरा आउँछ । भाषालाई केही भन्न नसक्ने बनाउनु, त्यसको माध्यमबाट अपव्याख्या गर्नु र तथाकथित ज्ञान छर्नु, अनि त्यसो गर्ने भाषाको मूल स्रोत नै आफ्ना कब्जामा लिनु भाषामा ज्ञानको राजनीति गर्नु हो ।
नेपालमा अंग्रेजीलाई ज्ञानको स्रोत मान्नेहरूले त्यसको राजनीति खासै गरेनन् । नेपालका साहित्यकारले अंग्रेजीको प्रयोग गर्दा यसको व्यापकतालाई लिए । ‘इन्द्रेनी’ कविता पत्रिकाको सम्पादकीयमा अंग्रेजी प्रयोगको कारण दिंदै महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखे, ‘अंग्रेजीको भारतमा, खासगरी डेकन र एसिया अनि विश्वका विभिन्न भागमा व्यापक प्रयोग भएको कारणले गर्दा यी अनुवादहरू अंग्रेजीमा गरिएका हुन् ।’ (२०१३, १९५६ः १७४) । अंग्रेजी विभागहरू यो भाषाका केन्द्र मानिन्थे, तर त्यहाँ ज्ञानको राजनीति थिएन । कवि मोहन कोइराला दाइले एक दिन मलाई भने, ‘भाइ, मलाई टीएस एलिअटजस्तो कवि भन्छन् । ती कवि र तिनका कविताबारे मलाई राम्ररी भन्नुहोस् ।’ साहित्यकारको यत्ति धारणा साधारण चाहना हो, अंग्रेजी भाषाको ज्ञानको राजनीति होइन । चन्द्रशमशेर अंग्रेजी जान्दथे, पढेका थिए कलकत्तामा । यो भाषालाई राजनीतिमा प्रयोग गर्न उनी सिपालु थिए भन्ने ब्रिटिस पत्रकार, इतिहासकारसँगका उनका सम्बन्धले बुझाउँछन् । इकाइ कावागुचीमाथि किताब लेखिरहेका बेला ती भिक्षुले चन्द्रलाई राजनीति र शासनबारे अंग्रेजीमा लेखेको चिठी कनक दीक्षित भाइको सौजन्यले मौकामा पाएको थिएँ ।
हामीले नेपालमा अंग्रेजी साहित्य र भाषाको उच्च तहको पठनपाठनमा पूरै परिवर्तन गर्‍यौं । त्यो केन्द्रीय विभागलाई अंग्रेजीको अन्तर्विषयक ‘इन्टरडिसिप्लिनरी’ अध्ययनमा परिवर्तन गर्‍यौं । अंग्रेजी विभागका ज्ञानका ‘थ्योरी’ र ‘कल्चरल स्टडिज’ जनिन शोधहरू र अध्ययनहरू गरायौं । अहिले हुँदै छन्, तर हामी मूल रूपमा अंग्रेजी विभाग नै हौं । नेपालमा अंग्रेजी ज्ञानको राजनीति भारतमा जस्तो हुँदैन । यहाँ अंग्रेजीका अलग रूपहरू छन् र अहिले समाजमा अनेकौं प्रयोगहरू हुँदै छन् ।