You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

विधिको शासनको बिजोग

- घनश्याम खड्का

(काठमाडौं)
विभिन्न देशमा कानुनी राज कस्तो छ भनेर बर्सेनि प्रतिवेदन प्रकाशित गर्ने ‘वर्ल्ड जस्टिस प्रोजेक्ट’ (डब्लूजेपी) का अनुसार नेपालमा विधिको शासन खस्किँदै छ । विगत आठ वर्षमा नेपाल २१ स्थान तल झरेको छ । सन् २०१५ मा ४८ औं स्थानमा रहेको नेपाल सन् २०२२ सम्म आइपुग्दा ६९ औं स्थानमा झरेको छ । आगामी वर्षहरूमा नेपालको स्थान अझै घट्नेमा विज्ञहरू चिन्तित छन्, जसका लागि पछिल्ला शृंखलाहरूले बल प्रदान गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी बोकेको स्विकारेका छन्, त्यसमा उनी दोषी हुन् कि होइनन् भनेर फैसला गर्ने अधिकार अदालतलाई मात्र हुन्छ । तर, यो मामिलामा अनुसन्धान नै गर्नु पर्दैन भनेर सरकारले रातारात निर्णय गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, उच्च र महान्यायाधिवक्ताको कार्यालयले तहगत रूपमै फाइल बढाएर ३६ घण्टाभित्र यो निर्णय गरे किनकि त्यही सेरोफेरोमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने कार्यसूची थियो । यता महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरे, उता राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको प्रस्तावको पक्षमा मतदान गर्‍यो ।
विधिका शासनका केही मूलभूत विशेषता हुन्छन् जसमध्ये कानुनका नजरमा सबै बराबरी, कानुनको समान संरक्षण र कानुनमा लेखिएअनुसारको शासन मुख्य हो । ‘सरकारी वकिलका जिल्लादेखि केन्द्रसम्मको तहले तीन दिनमा फटाफट निर्णय गरेर रवि लामिछानेलाई मुद्दा चलाउनु पर्दैन भनिदिए, सन्दीप लामिछाने र पल शाहको मुद्दामा अदालत फास्ट ट्र्याकको शैलीमा प्रस्तुत भयो,’ पूर्वकानुनमन्त्री माधव पौडेल भन्छन्, ‘कानुनका नजरमा यस्तो विभेद हुँदैन, यो विधिको शासनभित्र पर्दैन ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्मा आफूखुसी निर्णय गराउन अध्यादेश ल्याएर कार्यविधि नै परिवर्तन गरिदिएका थिए । विपक्षी दलका नेता, सभामुख र उपसभामुखबिना प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना मात्र बसेर ५२ पदाधिकारीको नियुक्ति सिफारिस गरेका थिए । तर, अर्को दिन ओलीले संसद् विघटन गरिदिएकाले संसदीय सुनुवाइबिना नै उनीहरू सबैले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति पाएका थिए । अध्यादेशबाट संवैधानिक पदाधिकारी नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा परेको मुद्दामा २७ महिनासम्म सुनुवाइ सुरु हुन सकेको छैन ।
‘संवैधानिक निकायमा प्रक्रिया मिचेर दलका मानिस भर्ती गरिनु, त्यसविरुद्ध परेको मुद्दामाथि अदालतले छिनोफानो गर्न नसक्नुले कानुनको राजमा नेपालको स्थान थप खस्किने स्थिति छ । त्यति मात्र होइन, नेपालको राष्ट्रिय मानवअधिकार आयोगको श्रेणी घटुवा भएको अवस्था हाम्रा लागि थप प्रतिकूल हो,’ पूर्वकानुनमन्त्री पौडेल भन्छन् ।
नेपालको स्थिति खस्काउने कारण अरू पनि छन् । हत्या अभियोगमा अदालतबाट पक्राउ आदेश जारी भएका लक्ष्मी महतो कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका छन् । पक्राउ पर्ने डरले उम्मेदवारी पनि वारेसबाट दर्ता गराएका उनले विजयी भएपछि प्रमाणपत्र पनि वारेसबाटै बुझेका थिए । सांसदका रूपमा शपथग्रहण गर्न उनी ७ पुसमा संसद् भवनमा उपस्थित भएका थिए । तर, उनी फरार रहेको भन्दै आएको प्रहरी प्रशासनले उनको उपस्थितिलाई पनि नजरअन्दाज गर्‍यो ।
२०७२ को मधेश आन्दोलनका बेला आन्दोलनकारीको कुटाइबाट घाइते भएका प्रहरी सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लग्दै गर्दा सडकमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उनलाई खेतमा दौडाइ–दौडाइ मारेको अभियोगमा जनकपुर उच्च अदालतले कोइरीलाई थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो । उच्च अदालतबाट १९ मंसिर २०७७ मा आएको आदेश अझै अलपत्र छ ।
अघिल्लो वर्ष १ फागुनमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । तर, जबराको संरक्षणमा अदालतमा भ्रष्टाचार मौलाएको भनेर सहकर्मी न्यायाधीशहरूले नै उनीसँग इजलास साझा गर्न अस्वीकार गरेका थिए । तर, जबराले बढाएको बेथितिको गम्भीर अनुसन्धान गर्नेभन्दा पनि उनलाई ‘राजनीतिक सबक’ सिकाउने उद्देश्यले दर्ता गरिएको महाभियोग प्रस्ताव संसद्मा अघि बढाइएन । उनीविरुद्धको प्रस्ताव किनारा नलागेकाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले करिब सात महिना न्यायालयको नेतृत्व गरे तर कायममुकायका रूपमा । उनी अवकाशमा गएपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले ६ महिनादेखि न्यायालयको नेतृत्व गरिरहेका छन् उनले पनि काययमुकायम रूपमै । यसरी देशको न्यायालय १३ महिनाभन्दा लामो समयदेखि तदर्थ नेतृत्वमा छ ।
प्रधानन्यायाधीशविरुद्ध संसद्ले महाभियोगको प्रस्ताव दर्ता गरे पनि त्यसलाई त्यसै अल्झाएर राख्नु, १३ महिनादेखि प्रधानन्यायाधीश नियुक्त हुन नसक्नुजस्ता कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा र मूल्यांकन खस्किँदै गएको बताउँछन् पूर्वकानुनमन्त्री अग्नि खरेल । उनको भनाइमा नेता तथा राज्यका जिम्मेवार निकायमा बस्नेहरूको प्रतिबद्धता कमजोर भएकाले विधिको शासन खस्केको हो ।
‘संसद्ले विधेयकहरू पारित गर्न नसक्नु, निर्वाचन सम्पन्न भएको महिनौंसम्म मिनी संसद् भनिने संसदीय समितिहरू नै गठन गर्न नसक्नुजस्ता विषय सामान्य होइनन्, हामीले सिद्धान्ततः विधिको शासन, स्वतन्त्र न्यायालय र संविधानवाद मान्छौं भन्यौं तर व्यवहारमा देखाउन सकेनौं । यो नै घातक भइरहेको छ,’ उनी भन्छन् ।

भएका कानुनहरूको परिपालना नहुनु र आफूखुसी निर्णय गर्न अध्यादेश ल्याउनु र त्यसका कारण प्रचलित कानुन पनि निष्क्रिय हुनु विधिको शासन खस्कनुको अर्को कारण हो । शेरबहादुर देउवाको सरकार जोगाउन र एमाले विभाजन गरी बनेको एकीकृत समाजवादी दललाई मान्यता दिन २०७८ भदौमा सरकारले अध्यादेश ल्याएको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजन गरी नयाँ दल बनाउन केन्द्रीय समितिका ४० प्रतिशत र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक हुनेछ भन्ने छ । तर, सरकारले ऐन संशोधन गरेर केन्द्रीय समितिका २० प्रतिशत वा संसदीय दलका २० प्रतिशत सदस्य भए पुग्ने अध्यादेश ल्याएका थिए । त्यसैका आधारमा माधव नेपालको नेतृत्वमा दल गठन भएको थियो । यो अध्यादेशको प्रतिस्थापन ऐन हालसम्म ल्याइएको छैन । यसरी पुरानो ऐनको प्रावधान हटेको र अध्यादेश पनि खारेज भएको अवस्थाका कारण राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ निष्क्रिय छ ।
‘अब कति प्रतिशत संख्या पुग्यो भने दल विभाजन हुन्छ भन्ने कुनै कानुन छैन,’ पौडेल भन्छन्, ‘यो त एक उदाहरण मात्रै हो, अध्यादेश ल्याइएका तर प्रतिस्थापन विधेयक पारित हुन नसकेका नागरिकतादेखि संवैधानिक परिषद्सम्मका अरू धेरै ऐनमा यस्तै समस्या छ, जसले गर्दा कानुनको शासन झन् कमजोर हुँदै छ ।’ संविधान, ऐन र कानुनमा भएका तर व्यवहारमा नभएका व्यवस्थाले पनि विधिको शासनलाई कमजोर बनाउने कानुनविद्हरूको विश्लेषण छ । संविधानअनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य र शिक्षाको हक छ, रोजगारीको सुनिश्चितता छ । तर, व्यवहारमा भने उपचार नपाएर नागरिकहरूको अकाल मृत्यु भइरहेको छ । उपचार महँगो हुनाले नेपालमा प्रत्येक वर्ष पाँच लाख मानिस गरिबीको रेखामुनि पर्ने गरेको तथ्यांकहरूले देखाएका छन् । रोजगारी पाउने हक भए पनि हजारौं युवा प्रत्येक दिन वैदेशिक रोजगारीका लागि देश छाडिरहेका छन् ।
यी उदाहरण मात्र हुन्, जसले नेपालको कानुनी राज कमजोर हुँदै छ भनेर पुष्टि गर्छ । यो स्थितिमा सुधार हुनुको ठाउँमा स्थान तल झर्नॅलाई राष्ट्रिय रूपमै असहज स्थितिको संकेत मान्छन्– संविधानविद् विपिन अधिकारी । संविधानले प्रत्याभूत गरेका व्यवस्था गर्न संघीय, प्रादेशिक र स्थानीय तहले बनाउनुपर्ने कैयौं कानुन बनेका छैनन्, बनेका कानुन पनि विरोधाभासपूर्ण छन् । ‘संघ, प्रदेश र स्थानीय सरकारले बनाएका कानुनहरू छरपस्ट छन् र कार्यान्वयनमा समस्या आइरहेको छ । मौलिक हकसँग सम्बन्धित कानुनको परिपालना नै भएको छैन,’ अधिकारी भन्छन्, ‘कानुन बन्ने तर त्यसको कार्यान्वयन नहुने स्थितिले विधिको शासनलाई चुनौती दिन्छ, यस्तो अवस्था देशमा बढ्दै जानु स्वस्थ लक्षण होइन ।’

मुख्य पृष्ठ

माटै दोषी भन्ने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

- मातृका दाहाल

(काठमाडौं)
सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा कालिका कन्स्ट्रक्सन प्रालिका प्रमुख रहेका पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । ठेकेदार पाण्डेसहित कालिका कन्स्ट्रक्सनका प्रतिनिधि र आयोजनाका इन्जिनियरसहित आरोपित सबै प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले मंगलबार पुनरावेदन गरेको हो । राप्रपाका उपाध्यक्षसमेत रहेका पाण्डे प्रतिनिधिसभा सदस्य पनि हुन् ।
विशेषबाट भएको फैसलालाई ८ बुँदामा त्रुटिपूर्ण रहेको भन्दै अख्तियारले त्यसलाई खारेज गरेर अनियमिततामा संलग्नहरूबाट विगो र जरिवाना असुल उपर गरी जेल सजायसमेत गर्न माग गरेको छ ।

‘आयोजनाको निर्माण थाल्नुअघि माटोको गुणस्तर परीक्षणमा भएको त्रुटि, निर्माण स्थलको विस्तृत इन्जिनियरिङ अध्ययन नभएको, फिजिबिलिटी स्टडी रिपोर्टले औंल्याएका विषय नहेरी/नपढी हचुवाका भरमा आयोजनाको कन्ट्र्याक्ट डकुमेन्ट तयार पारिएको थियो,’ अख्तियारले गरेको पुनरावेदनमा भनिएको छ, ‘विज्ञ/प्राविधिकसँग परामर्श नगरी बदनियतका साथ ठेक्का सम्झौता तथा निर्माण कार्य अघि बढाएको पुष्टि हुँदा पनि प्रतिवादीलाई सफाइ दिने गरी त्रुटिपूर्ण फैसला भएको छ ।’
नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण र विस्तृत आयोजना प्रतिवेदनबिनै ठेक्का सम्झौताका कागजातमा बदनियतपूर्ण रूपमा अस्पष्ट र अपूर्ण प्रावधानबाट डिजाइन बनाई भ्रष्टाचार गरेको कसुरमा २०७५ मंसिर २१ मा अख्तियारले आरोपितविरुद्ध ८ अर्ब ५९ करोड ८८ लाख ३१ हजार बिगो, त्यति नै जरिवाना र कैद सजाय मागदाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो । त्यसको करिब साढे ३ वर्षपछि २०७९ असार ५ मा विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले प्रतिवादी बनाइएका आरोपित सबैलाई सफाइ दिँदै भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी नपुग्ने फैसला सुनाएको थियो । फैसलाको पूर्ण पाठ गत महिना मात्रै सार्वजनिक भएको थियो ।
सिक्टाको नहर भत्किनुमा अदालतले ‘घुलनशील माटोको दोष’ भन्दै अनौठो फैसला गरेको थियो । अख्तियारले आयोजना निर्माणको जिम्मा पाएको कालिका प्रमुख पाण्डे र सोही कम्पनीका युवराज भनिने युवबहादुर क्षत्री, आयोजनाका सल्लाहकार संस्था ईआरएमसीका निर्देशक उद्धवराज चौलागाईं र संस्थाका प्रतिनिधि हेमनिधि शर्मा र ईआरएमसीका टिम लिडर तथा इरिगेसन इन्जिनियर अरुणकुमार चौधरीलाई बिगो, जरिवाना र कैद सजाय मागदाबी गरेको थियो । त्यस्तै, आयोजनाका तत्कालीन योजना निर्देशक दिलीपबहादुर कार्की, सिँचाइ विभागका तत्कालीन महानिर्देशक सरोजचन्द्र पण्डित, सिक्टा आयोजनाका सिनियर डिभिजन इन्जिनियर सूर्यदेव थापा क्षत्री, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की र सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, मीनराज ढकाल, रविनाथबाबु
श्रेष्ठ, आशिषभद्र खनाल र सुपरिटेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, योजना निर्देशक सर्वदेव प्रसाद र आयोजना निर्देशक रमेश बस्नेतविरुद्ध पनि बिगो, जरिवाना मागदाबी गरिएको थियो ।
अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले आयोजनामा भ्रष्टाचार गरेको पुष्टि भए पनि फैसला आउँदा सबै प्रतिवादीलाई सफाइ दिइएपछि त्यसविरुद्ध अख्तियारमा मुद्दाको पुनरावेदन दिइएको बताए । ‘तथ्य र प्रमाणले आयोजना सुरु हुनुअघिबाटै बदनियतपूर्ण रूपमा भ्रष्टाचार भएको देखिन्छ । अनुसन्धानका क्रममा त्यसलाई पुष्टि हुने आधार प्रशस्त छन्,’ दाहालले कान्तिपुरसँग भने, ‘तर, फैसला अर्कै आयो, आरोपित सबैलाई उन्मुक्ति दिइयो । यसमा अख्तियार सहमत छैन ।’
अख्तियारले पाण्डेविरुद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २०, चौलागाईंविरुद्ध २ करोड ४० लाख ५५ हजार ८ सय ७२ रुपैयाँ बिगो तथा त्यति नै जरिवाना र कैद सजाय मागदाबी लिएको थियो । अन्य आरोपितलाई पनि फरक–फरक बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो ।
बाँकेको ४२ हजार ७ सय ५५ हेक्टर जमिन सिँचाइ गर्न २०६१ मा सिक्टा आयोजना सुरु भएको थियो । यसका लागि पाण्डे सञ्चालक रहेको कालिका कन्स्ट्रक्सनको जेभीले ठेक्का पाएको थियो । करिब १२ वर्ष लगाएर निर्माण गरिएको आयोजनामा २०७३ मा पानी छोडेर परीक्षण गर्दा मूल नहर नै भत्किएपछि ठेकेदार र सरकारी कर्मचारी (प्राविधिक) विरुद्ध अख्तियारले अनुसन्धान अघि बढाएको थियो । त्यस क्रममा ठेकेदार र कर्मचारीको मिलेमतोमा आयोजना सुरु हुनुअगावै डिजाइन निर्माणकै क्रममा बदनियतपूर्ण रूपमा चलखेल भएको तथ्य फेला परेको थियो । करिब २ वर्षको अनुसन्धानपछि अख्तियारले २१ मंसिर २०७५ मा मुद्दा दायर गरेको थियो । तर, फैसलामा भने विशेषले माटोको घुलनलाई दोष देखाएर अभियुक्तहरूलाई उन्मुक्ति दिएको थियो ।

मुख्य पृष्ठ

रविको उम्मेदवारीविरुद्ध संवैधानिक प्रश्न

- जयसिंह महरा

(काठमाडौं)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवार बन्ने योग्यतालाई लिएर संवैधानिक प्रश्न उठेको छ । उनले नेपाली नागरिकता पुनः प्राप्त गरेको तीन महिना नपुग्दै उपनिर्वाचनमा उम्मेदवार बन्न लागेको भन्दै निर्वाचन आयोगमा चार उजुरी परेका छन् ।
चितवन–२ का मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार उजुरीमाथि बुधबार ५ बजेसम्म निर्णय दिने कार्यतालिका छ । त्यसअघि आयोगले उम्मेदवारसँग स्पष्टीकरण पनि लिने प्रावधान छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पुर्‍याएर नेपाली नागरिकता लिएको तीन महिना नपुगेकाले उम्मेदवार बन्न योग्य नभएको लगायतका प्रश्न उठाइएका छन् । त्यस्तै प्रश्न लामिछानेको राहदानीका विषय पनि उठेका छन् ।
मंसिर ४ मा चितवन–२ बाट निर्वाचित लामिछाने सर्वोच्चको फैसलापछि सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, रास्वपा सभापति र साधारण सदस्यबाट समेत मुक्त भएका थिए । लामिछाने यसअघि अयोग्य भएका कारण नै चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले दर्ता गराएको उजुरीमा भनिएको छ, ‘संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले तीन महिनाको अवधि व्यतीत नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ । माघ १५ मा नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा भएको देखिँदैन ।’
रवि लामिछानेविरुद्ध उजुरी दर्ता गराएका अधिवक्ता युवराज पौडेलले संविधानको धारा २९१ उद्धृत गर्दै लामिछाने उम्मेदवार बन्न अयोग्य रहेको दावी गरेका छन् । उनले अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालयमा पेस नगरी नागरिकता लिएको पनि जिकिर गरेका छन् ।
संविधानको धारा २९१ मा उल्लेख छ, ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर, त्यस्तो विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिनाको अवधि व्यतीत भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’

लामिछानेविरुद्ध परेका उजुरी र संविधानको उक्त धाराको व्यवस्था एवं सर्वोच्चले माघ १३ मा गरेको फैसलाबारे संविधानविद्हरूका धारणा भने फरकफरक छन् । एक पक्षले नेपाली नागरिकता हुँदै विदेशी पीआर लिएर त्यागेको अवस्थामा नै संविधानले तीन महिनाको सीमा लगाएकाले नागरिकताको हकमा पनि कम्तीमा त्यो व्यवस्था लाग्ने तर्क गरेका छन् ।
वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्रकान्त ज्ञवालीले लामिछानेको उम्मेदवारीलाई लिएर संवैधानिक प्रश्न उठ्ने बताए । ‘संविधानको धारा २९१ ले आवासीय भिसा लिएर त्यागेको अवस्थामा त्यसरी त्यागेको ३ महिनापछि मात्रै मनोनयन हुन पाउने भन्ने छ, पुनः नागरिकता लिएको मितिले ३ महिना भन्ने होइन, लामिछानेको हकमा नागरिकता कहिले त्यागेको भन्ने संवैधानिक प्रश्न हो,’ उनले भने, ‘आवासीय भिसाको त ३ महिना हुन्छ भने नागरिकतामा
पनि ३ महिना नै कुलिङ पिरियड राखिएको हुन्छ ।’
वरिष्ठ अधिवक्ता सुनील पोखरेल भने पीआरको विषयलाई लामिछानेले लिएको अमेरिकाको नागरिकता तथा पासपोर्टको मुद्दासँग जोडेर विवाद गर्नु अनुचित हुने तर्क गर्छन् ।
दुई फरक विषयलाई जोडेर यसअघि पनि विवाद झिकिएको र अहिले पनि त्यसैलाई दोहोर्‍याउन खोजिएको उनको भनाइ छ । ‘स्थायी आवासीय अनुमतिपत्र भनेको पीआर हो तर लामिछानेको इस्यु पासपोर्ट र नागरिकताको हो,’ उनले भने, ‘आवासीय अनुमतिपत्र भनेको पासपोर्ट पाउनुभन्दा अगाडिको अवस्था हो । पासपोर्ट पाइसकेपछि पीआर खारेज हुन्छ । पीआर पाउन्जेलसम्म नेपालकै नागरिकता हुन्छ । २०७५ सालमा पासपोर्ट छोडिसकेको मान्छेले फेरि संविधानको धारा २९१ को पीआरको व्यवस्था देखाएर अयोग्य भयो भन्ने उजुरी हाल्नु ठीक होइन ।’
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई भने पीआर लिएर त्यागेको नेपालीलाई पनि कुलिङ पिरियड राखेकामा विदेशी नागरिकता नै लिएर त्यागेकोलाई त्यो लागू हुने संविधानको भावना रहेको बताउँछन् । ‘संविधानको धारा २९१ ले नेपाली नागरिक तर विदेशको आवासीय परिचयपत्र पीआर लिएको छ भने उसलाई चुनाव उठ्नका लागि त्यो त्यागेको अवधिले ३ महिना तोकेको छ । त्यसलाई कुलिङ पिरियड भनिन्छ । त्यो नेपाली नागरिकता नत्यागेको तर विदेशको पीआर लिएको हकमा मात्रै लागू हुने व्यवस्था हो । रविजी त अस्ति माघ १५ मा मात्रै नेपाली नागरिक हुनुभएको छ । अब नेपाली नागरिकता त्यागेर उताको नागरिकता नै लिएर त्यागेकाले त्योभन्दा पहिले पाउँछ भन्ने व्याख्या गर्नु त संविधानको धारा २९१ को प्रावधानविपरीत हो । २९१ ले स्पष्ट रूपमा रविजीलाई उम्मेदवार हुनबाट रोक्छ,’ भट्टराई भन्छन् ।
लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट त्यागेको निस्सा बुझाएको कहिले भन्ने प्रश्न पनि उठ्ने वरिष्ठ अधिवक्ता ज्ञवालीको भनाइ छ । उनले २०७५ मा अध्यागमन विभागमा बुझाएको जानकारीपत्रलाई नागरिकता त्यागेको निस्साका रूपमा बुझ्न नहुने तर्क गरेका छन् । उनको भनाइ छ, ‘नागरिकता त्यागेको निस्सा दिएको भन्ने छ । निस्सा प्रशासन कार्यालयमा बुझाएको हुनुपर्छ । अन्त बुझाएकाले मान्यता पाउँदैन । जुन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएको हो, त्यो कार्यालयमा नै विदेशी नागरिकता त्यागेको भनेर निस्सा बुझाएको हुनुपर्छ ।’ लामिछानेको नागरिकताका कारणले नै चितवन–२ मा उपनिर्वाचन हुन लागेको भन्दै ज्ञवालीले विदेशी नागरिकता त्यागेको निस्सा नै बुझाएको छैन भन्ने प्रश्न उठ्यो भने जिल्ला प्रशासन कार्यालयले आयोगलाई जवाफ दिनुपर्ने बताउँछन् ।
नागरिकतालाई लिएर उठेको सांसदको योग्यतालगायतका मुद्दामा लामिछानेको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता पोखरेल भने सर्वोच्च अदालतको फैसलाले नै लामिछानेले २०७५ मा अमेरिकी नागरिकता त्यागेको भनेपछि थप बोलिरहन नपर्ने तर्क गरेका छन् । ‘राज्य भनेको को हो ? सीडीओ कार्यालय हो कि, गृह मन्त्रालय हो कि, प्रहरी प्रशासन हो कि, अदालत हो कि, निर्वाचन आयोग ? सर्वोच्च अदालतको जुन फैसलाले अयोग्य घोषणा गर्‍यो, त्यो फैसलाले २०७५ सालमा अमेरिकी पासपोर्ट परित्याग गरेको कुरामा विवाद नदेखिए तापनि पुनः प्राप्ति नगरेको भनेर लेखेको छ,’ उनको प्रश्न छ, ‘सर्वोच्च अदालतले २०७५ सालमा अमेरिकी पासपोर्ट छाडेको भनेर लेखेपछि गाउँपालिका वा सीडीओ कार्यालय कहाँ गएर खोज्ने ? सर्वोच्चको फैसलाले नै यसले २०७५ सालमा नागरिकता (अमेरिकाको) छोडिसकेको भनेपछि फेरि प्रमाण खोजिबस्छ कसैले ?’
वरिष्ठ अधिवक्ता भट्टराई भने निर्वाचन आयोगले पनि लामिछानेले पुनः नागरिकता कसरी पाएका हुन् भन्ने प्रक्रिया र कानुनी व्यवस्था हेर्नुपर्ने तर्क गर्छन् । ‘निर्वाचन आयोगले पुनः नागरिकता प्राप्त गर्दा रवि लामिछानेले बुझाएको निस्सा हेर्नुपर्छ, माघ १३ को फैसलामा विगतमा कानुनबमोजिम त्यागेको देखिएन भनेको छ । त्यसैले कानुनबमोजिम त्यागेको देखिएको प्रमाणपत्र उम्मेदवारीसाथ देखिनुपर्छ,’ उनले भने, ‘रवि लामिछानेकै कारणले चितवन–२ को उपनिर्वाचन हुन लागेको हो । पटक–पटक त्यहाँका जनतालाई दुःख र राज्यको स्रोत साधनको दुरुपयोग गर्नॅ उपयुक्त हुँदैन । यति धेरै प्रश्न उठेपछि लामिछानेले स्वयं उम्मेदवारी फिर्ता लिनु राम्रो हुन्छ, उम्मेदवारी फिर्ता लिनु हुन्न भने आयोगले उम्मेदवारी कायम राख्ने संवैधानिक आधार देखिन्न ।’

 

Page 2
म्यागेजिन

कुपोषण नियन्त्रणमा बेवास्ता

- वसन्तप्रताप सिंह

(बझाङ)
गत माघमा मस्टा गाउँपालिकाको रिलु गाउँमा ११ जना कुपोषित बालबालिका भेटिए । बालबालिकाको पोषणको अवस्था पत्ता लगाउने फित्ता (मुवाक टेप) ले नाप्दा १० लाई मध्यम र एक जनालाई कडा खालको कुपोषण भएको पत्ता लाग्यो । मस्टा–६ मा पर्ने यो गाउँमा रिलु स्वास्थ्यचौकी छ । यहाँ कुपोषणको उपचार गर्न बहिरंग उपचार केन्द्र (ओटीसी) समेत सञ्चालनमा छ, तर यहाँका बालबालिका कुपोषित छन् भनेर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले भने पत्ता लगाएका होइनन् । गैरसरकारी संस्थामार्फत सञ्चालित सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ताले घरभेटमा जाँदा यी बालबालिकाको अवस्था थाहा पाएका हुन् ।
‘ती बालबालिकाको थप स्वास्थ्य जाँच र उपचार गर्न हामीले सबै विवरण स्वास्थ्यचौकीलाई बुझाएका थियौं,’ सुआहाराका पालिका पोषण सहजकर्ता लोकेश खड्काले भने, ‘हामीले दुई दिन घरभेट गर्दा ती बालबालिका पत्ता लागेका हुन् ।’ गाउँमा अरू बालबालिका पनि कुपोषित भेटिन सक्ने भएकाले स्वास्थ्यकर्मीलाई सबैको स्वास्थ्य जाँच्न भनेको
उनले बताए ।
गाउँपालिकाले अद्यावधिक गरेको ०७८ फागुनसम्मको तथ्यांकअनुसार यो पालिकामा १३ बालबालिका मात्रै कुपोषित छन् । यी सबै वडा–६ मा पत्ता लागेका हुन् । सबै वडामा जाँच गर्न सके अझ धेरै कुपोषित बालबालिका भेटिन सक्ने पालिकाको स्वास्थ्य शाखाका कर्मचारी रवीन्द्र बोहराले बताए । ‘पालिकाका प्रत्येक घरमा गएर जाँच गर्नुपर्ने हो तर सबै स्वास्थ्य संस्थाले त्यसो गरेका छैनन्,’ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षकसमेत रहेका बोहराले भने, ‘परिवारका सदस्यले पनि बच्चा कुपोषित भएमा जँचाउन ल्याउँदैनन् । मडाछाउ (लास छोएको) भएको, सुको लागेको भनेर धामीझाँक्रीकहाँ लैजान्छन् । अन्तिम अवस्थामा मात्रै ल्याउँछन् ।’ मध्यमखालको कुपोषण भएका बालबालिकालाई खानपानमा ध्यान दिएर सुधार गर्न सकिन्छ भन्नेबारे स्वास्थ्य परामर्श नपाएका कारण तिनै बच्चालाई पछि कडा कुपोषण हुने गरेको उनको भनाइ छ । गत वर्ष यो पालिकामा एक बालकको कुपोषणकै कारण ज्यान गएको थियो ।
बुंगल नगरपालिका–४ डिल गाउँकी देवकी विकको १८ महिने छोरा कडा खालको कुपोषणले ग्रस्त छन् । नगरपालिकाको खिरातडी स्वास्थ्यचौकी पुग्न उनको घरबाट १५ मिनेट लाग्छ । उनले छोरालाई तीन पटकसम्म स्वास्थ्यचौकी पुर्‍याइसकेकी छन् । तर अवस्थामा सुधार भएको छैन । ‘पहिलो पटक सुत्केरी भएका बेला छोरालाई लिएर स्वास्थ्यचौकी गए,’ उनले भनिन्, ‘त्यहाँ जचाउँदा नियमित दूध चुसाउनु भने । मैले त्यसै गरें तर यसको तौल बढेन ।’ ११ महिना पुगेपछि उनले फेरि स्वास्थ्यचौकी लगिन् । स्वास्थ्यकर्मीले लिटो (पूरक आहार) दिएर पठाए । तर उनको छोराले लिटो खान मानेन । ‘अर्को पटक जाँदा तिम्रो छोराको अवस्था बिग्रिसकेको छ, अब यहाँ नल्याउनु अन्तै लैजानु भने,’ उनले भनिन्, ‘अरू ठाउँ लगेर उपचार गराउन मसँग पैसा छैन ।’ देवकीले
आफ्नो छोरा दिनदिनै गल्दै गइरहेको र पालिका बाहिर लैजान खर्च नभएकाले छोराको मृत्यु कुरेर बस्नुपरेको बताइन् ।
खिरातडी स्वास्थ्यचौकीका इन्चार्ज नरेश बोहराले आफूहरूकहाँ ओटीसी मात्रै भएको र जटिल अवस्थाकालाई आईटीसी (अन्तरंग उपचार केन्द्र) मा रेफर गर्ने गरेको बताए । उनका अनुसार खिरातडी स्वास्थ्यचौकीमा यो वर्षमात्रै १८ कुपोषित बालबालिकाको उपचार भएको छ । ‘पोहोर फागुनमा स्क्रिनिङ (परीक्षण) गर्दा हाम्रो सेवा क्षेत्रमा ३०/४० कुपोषित बालबालिका भेटिएका थिए,’ उनले भने, ‘यो वर्ष अहिलेसम्म स्क्रिनिङ भएको छैन । स्क्रिनिङ गर्ने हो भने धेरै बालबालिका कुपोषित भेटिन सक्छन् ।’ प्रत्येक महिना घरघर गएर बालबालिकाको नापतौल लिएर पोषण जाँच गर्नुपर्ने भए पनि त्यसो नगरिएको उनको भनाइ छ ।
बुंगलमा गत माघमा १८ बालबालिका कुपोषित भेटिए । गत आवमा यो पालिकामा १ सय १० बालबालिकामा कडा खालको कुपोषण भेटिएको थियो । गत वर्ष संघीय सरकारले कुपोषित बालबालिकाको खोजपड्ताल अभियान चलाउन भनेर ७० हजार रकम छुट्याएको थियो । यही अभियानका कारण कुपोषित बालबालिका धेरै भेटिएको बुंगलका स्वास्थ्य शाखा संयोजक नरेश कुँवरले बताए । यो वर्ष पर्याप्त बजेट नभएकाले सबै कुपोषित खोज्न नसकिएको र पहिले जस्तै अभियान चलाएमा गत वर्षकै हाराहारीमा कुपोषित बालबालिका भेटिन सक्ने उनको भनाइ छ । कुँवरका अनुसार पोसिलो खाना, सरसफाइ, नियमित स्तनपान र हेरचाहको कमीले बालबालिका कुपोषणको सिकार भइरहेका छन् ।
तलकोट गाउँपालिका–४ का गजेन्द्र सिंहकी ११ महिनाकी छोरीलाई पनि कडा कुपोषण छ । स्थानीय मेलबिसौना स्वास्थ्यचौकीमा लगेर जँचाउँदा उनलाई लिटो (आरयूटीएफ–रेडि टु युज थेराप्युटिक फुड) खान दिइयो । तर उनले खान मानिनन् । स्वास्थ्यकर्मीले थप उपचारका लागि जिल्ला अस्पताल लैजान सिफारिस गरे पनि परिवारका सदस्यले लगेका छैनन् । ‘फुर्सद नपाएर अस्पताल लैजान पाएको छैन,’ सिंहले भने, ‘हाम्रै गाउँमा मेरो छोरीभन्दा पनि दुब्ला धेरै बच्चा छन् । कसैले उपचारका लागि लगेका छैनन् । बिस्तारै ठीक भइहाल्ला भनेर पनि नलगेको हो ।’ उनले गाउँमा छोरी जस्तै ८/१० जना दुब्ला र कम तौलका बच्चा
भएको बताए ।
तलकोट स्वास्थ्य शाखा सहसंयोजक नरजित खड्काले उनले दाबी गरेकै संख्यामा कुपोषित बालबालिका भएको बारे पालिकालाई जानकारी नभएको बताए । स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा महिला स्वास्थ्य स्वयंसेविकामार्फत जानकारीमा आएकाको मात्रै तथ्यांक राखिएको खड्काको भनाइ छ । ‘कुपोषित बालबालिका पत्ता लगाउने काम स्वयंसेविकाले गर्नुपर्ने हो । प्रत्येक महिना पाखुराको नाप लिएर कुपोषित बालबालिका भेटिए स्वास्थ्य संस्थालाई खबर गर्नुपर्छ,’ उनले भने, ‘तर उनीहरूले बच्चाको नापतौल नै नलिई हचुवाको भरमा डाटा पठाउने गरेका छन् । त्यसैले कोही छुटेका हुन सक्छन् ।’ गत माघसम्म पालिकामा १५ बालबालिका कुपोषित रहेको तथ्यांक आएको उनले बताए । गतवर्ष यही पालिकाका ६४ बालबालिकामा कडा कुपोषण भेटिएको स्वास्थ्य कार्यालय बझाङको रेकर्ड छ ।
यी घटनाले कुपोषण न्यूनीकरणमा स्थानीय तहले गरेको बेवास्तासमेत चित्रित गर्छ । १२ पालिका रहेको बझाङका सबै पालिकामा कुपोषित बालबालिका रहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य कार्यालय बझाङका अनुसार तीन वर्षयता कुपोषणका कारण बझाङमा ६ बालबालिकाको मृत्यु भइसकेको छ । यो तथ्यांक स्वास्थ्य संस्थामा उपचार गर्ने क्रममा मृत्यु भएका कुपोषित बालबालिकाको मात्रै हो । स्वास्थ्य संस्थाको सम्पर्कमै नआएर मृत्यु हुने बालबालिकाको संख्या योभन्दा धेरै हुन सक्ने स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।
स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडीले स्वास्थ्य संस्थाको सम्पर्कमा नआई धामीझाँक्री तथा घरेलु उपचार गराएका, स्वास्थ्य संस्थाले रेफर गरेर पनि उपचार गर्न नगएका थुप्रै बालबालिकाको कुपोषणकै कारण मृत्यु भएको तर कार्यालयसँग त्यसको रेकर्ड नभएको बताए । यसरी कुपोषित भएका बालबालिकाको तथ्यांक राख्ने, उपचारमा गए/नगएको हेर्ने र खर्च अभावमा उपचार गर्न नसक्नेलाई आर्थिक सहायता दिने जस्ता काम गाउँका सिंहदरबार मानिएका स्थानीय तहले गर्नुपर्ने उनको भनाइ छ । ‘केन्द्रबाट बजेट कार्यक्रम आए मात्र औपचारिकताका लागि काम गर्ने प्रवृत्तिका कारण कुपोषणको समस्या झन्झन् बढ्दै छ,’ उनले भने, ‘बालबालिकालाई कुपोषित हुनै नदिन सर्वप्रथम त पालिकाहरूले कति जना कुपोषित छन् भन्ने पत्ता लगाउनुपर्छ । तर यति काम पनि हुन सकेको छैन ।’
पोषणमा छैन लगानी
आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा खप्तड छान्ना गाउँपालिकाले महिला तथा बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने र स्वास्थ्य पोषण जस्ता सामाजिक पक्षको स्तर वृद्धि गरी स्वस्थ र समृद्धि उन्मुख पालिका बनाउने लक्ष्य राखेको छ । नीति तथा कार्यक्रमको उद्देश्यमा शिक्षा, स्वास्थ्य खानेपानी सरसफाइ एवं पोषणलगायतको विकास गरी मानव विकासमा सुधार ल्याउने भनिएको छ । कुपोषणको दर, मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्य लिएको पालिकाले कुपोषणलाई सम्बोधन गर्न एक रुपैयाँ पनि बजेट छुट्याएको छैन ।
यस्तै, जयपृथ्वी नगरपालिकाको ०७८/७९ को नीति तथा कार्यक्रममा महिला बालबालिका मैत्री बजेट निर्माण र पोषणका कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । तर यो पालिकाले पनि उक्त कार्यक्रम सञ्चालन गर्न बजेट नै छुट्याएको छैन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जयपृथ्वी नगरपालिकाले मातृशिशु पोषणको अवस्थामा सुधार ल्याउने, सुनौला हजार दिनको अभियान चलाउनेदेखि नवजात शिशु, बाल र मातृ मृत्युदर घटाउने भनेको थियो । तर लगातार दुई वर्षसम्म जयपृथ्वी र केदारस्यु गाउँपालिकाले बजेट नै छुट्याएनन् ।
आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा पोषणको अवस्था सुधार गर्ने लक्ष्य र आकर्षक नारा राखेका खप्तड छान्ना, सुर्मा र केदारस्यु गाउँपालिकाले कुनै बजेट नै छुट्याएनन् । बजेट विनियोजन गरेका धेरैजसो पालिकाले दुई/तीन लाख मात्रै रकम छुट्याएर झारा टार्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी कुपोषणको समस्या मस्टा र बित्थडचिर गाउँपालिकामा देखिए पनि यी दुवै पालिकाले चालु आवका लागि पोषणको क्षेत्रमा बजेट छुट्याएका छैनन् । जिल्लाका अन्य आठ स्थानीय तहले जम्मा ४७ लाख बजेट छुट्याएका छन् । योमध्ये १२ लाख तल्कोट गाउँपालिकाको छ । पालिकाले पोषणका क्षेत्रमा छुट्याएको यो बजेट प्रभावित बालबालिकाको परिवारमा भन्दा पनि बढी अनुगमन प्रशासनिक काममा खर्च हुने गरेको छ ।
पालिकाको योजना तर्जुमा हुँदा नै पहुँचवाला व्यक्ति र विभिन्न स्वार्थ समूह हाबी हुने भएकाले पोषणको कार्यक्रम प्राथमिकतामा पर्न नसकेको यो क्षेत्रका जानकार बताउँछन् । बुंगलका स्वास्थ्य शाखा संयोजक नरेश कुँवरले कुपोषण घटाउन नीति कार्यक्रममा नारा राखेर मात्र नहुने बरु त्यसका लागि पर्याप्त बजेट र जनशक्ति आवश्यक पर्ने बताए । ‘तर यो विषयमा पालिकामा छलफल नै हुँदैन । बजेट विनियोजन गर्दा कार्यकर्तासँग सल्लाह गरेर अन्तै छुट्याइन्छ,’ उनले भने, ‘कुपोषणका कारण बालबालिकाको मृत्यु भयो भने स्वास्थ्यकर्मीले गाली खानुपर्ने हुन्छ ।’
मस्टाका अध्यक्ष ज्ञानबहादुर बोहराले आफूहरूले गरेको एक अध्ययनले पालिकाका १५ प्रतिशत बालबालिकामा कडा कुपोषण भएको देखाएको बताए । ‘यहाँ कुपोषणको ठूलो समस्या छ । यो अवस्थालाई नियन्त्रण गर्न के गर्न सकिन्छ भनेर हामी छलफलमै छौं,’ उनले भने, ‘अर्को वर्षदेखि कुपोषण कम गर्न बजेट विनियोजन हुन्छ ।’ उनले यसअघि कुपोषण न्यूनीकरण गर्न छुट्याइएको रकम कुखुरा पालनमा मात्रै खर्च भएको र तोकिएको ठाउँमा सही तरिकाले खर्च नभएको पाएपछि यस वर्ष पोषणमा बजेट नछुट्याएको बताए ।
बहुक्षेत्रीय पोषण कार्यक्रमका सुदूरपश्चिम प्रदेश संयोजक ज्ञानेन्द्र दुवाडीले स्थानीय तहले नीति र बजेटमा कुपोषणलाई मूल प्रवाहीकरण गर्न नसकेको र पालिकाभित्र रहेका कुपोषित बालबालिकाको खोजतलास नगरेको बताए । ‘मानवीय क्षेत्रमा पनि लगानी गर्नुपर्छ भन्ने विषयमा पालिकामा संवेदनशीलता र उत्तरदायित्व देखिएन,’ उनले भने, ‘स्थानीय तहले उत्तरदायी भएर कुपोषित बालबालिकाको खोजी गर्नुपर्छ । त्यसैका आधारमा नीति तथा योजना बनाएर कार्यान्वयन गर्न सके मात्र समस्या समाधान हुन सक्छ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोषण मैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८ जारी गरेको छ । महिला, बालबालिका तथा किशोरीको पोषणको अवस्था सुधार गर्न स्थानीय तहको नीति, योजना कार्यक्रम र सेवा प्रवाहमा सुधार गरी पोषणको सुनिश्चितता गर्न अभियानमूलक कार्यक्रम सञ्चालन गर्नका लागि भन्दै गत वर्ष फागुनमा सबै पालिकालाई निर्देशनात्मक पत्र पठाएको थियो । निर्देशनमा प्रत्येक टोल, वडा हुँदै पालिकालाई पोषण मैत्री पालिकाका रूपमा घोषणा गर्न बहुक्षेत्रमा काम गर्नुपर्ने उल्लेख छ । स्थानीय तहको नीति, योजना, कार्यक्रम र कार्यप्रक्रियामा पोषण केन्द्रित तथा पोषण संवेदनशील कार्यक्रम समावेश गरी सबै व्यक्तिमा पोषण प्राप्तिको सुनिश्चितता गराउने भनिए पनि बझाङका पालिकाले यसको पनि बेवास्ता गरेको देखिन्छ ।
‘पोषणको क्षेत्रमा काम गर्न समुदायबाट माग आउनुपर्छ । नभए सम्बन्धित शाखाका कर्मचारीले यस क्षेत्रमा काम गरौं भनेर प्रस्ताव पेस गर्नुपर्छ,’ जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले भने, ‘तर पालिकाको नीति कार्यक्रम र बजेट तर्जुमा गर्दा यस्ता कुरा कहींबाट पनि उठ्दैनन् । सबैले आफ्नै स्वार्थ हुने ठाउँमा मात्र बजेट हाल्न खोज्दा यस्ता कुरा छुट्ने गरेका छन् ।’ जनप्रतिनिधिलाई पनि सबै विषयमा ध्यान
नहुने भएकाले कुपोषण जस्ता महत्त्वपूर्ण विषय सम्बोधन गर्न चुक्ने गरेको उनले बताए ।

Page 3
समाचार

बारामा यादव र राउतको शक्ति परीक्षण

- प्रकाश धौलाकोटी

(काठमाडौं)
गत मंसिरमा भएको चुनावमा पराजित जसपा अध्यक्ष उपेन्द्र यादव बारा–२ मा हुने उपनिर्वाचनका लागि मैदानमा छन् । यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए तर अध्यक्ष यादवले चुनाव जितेर पार्टीको संसदीय दलको नेतासमेत बनेका रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफैं संसद् छिर्ने बाटो बनाएका हुन् ।
यस पटक बाराको उपनिर्वाचन समग्र मधेश राजनीतिको शक्ति संघर्षको विषय बनेको छ भने उपेन्द्र यादवका लागि अग्निपरीक्षा । सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, लोसपासहित दलहरूको समर्थन पाएका यादव भूगोलमा स्वच्छ छविका रामसहायले खडा गरेको सांगठनिक जगमा चुनावी परिणाम हात पार्ने दाउमा छन् । तर, उनलाई रोक्न प्रमुख विपक्षी दल एमाले मात्रै होइन, मधेशकै मुद्दामा वैकल्पिक राजनीति गर्दै उदाएको जनमत पार्टीसमेत अगाडि आएको छ ।
यसअघि रामसहायले एमालेसँगको गठबन्धनबाट चुनाव जितेका थिए, अहिले उपेन्द्र कांग्रेस, माओवादीसहितका दलसँगको गठबन्धनबाट उम्मेदवार छन् । जनमतले
भने यसअघि कांग्रेस–माओवादी गठबन्धनबाट प्रतिस्पर्धा गरेका शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको छ ।
मधेश राजनीतिको केन्द्रमा को रहने भन्ने विषयमा यादव र जनमत अध्यक्ष राउतबीच प्रतिस्पर्धा छ । उपनिर्वाचनको जस्केलाबाट संसद् छिर्न खोजेका यादवलाई रोक्न राउत आफैं मैदानमा खटिएका छन् । जनमतका महासचिव चन्दन सिंहले आफूहरूले मधेशका जनताका खास समस्या समाधानका लागि काम गर्ने बताए । ‘सधैं मधेशको नाम मात्रै भजाउनेहरूलाई अब कुनै स्पेस हुने छैन, यो चुनावले त्यो कुरा पुष्टि गर्छ,’ उनले भने ।
जनमतका अध्यक्ष राउत यादवलाई मधेशको राजनीतिबाट पाखा लगाएर आफू स्थापित हुन चाहन्छन् । उनीसँगै चुनाव हारेका यादव भने अबका पाँच वर्षसम्म संसद् र शक्तिमा नहुँदा टिकिरहन कठिन हुने भयमा देखिन्छन् । मधेशी जनअधिकार फोरममार्फत आन्दोलन गरेर राष्ट्रिय राजनीतिमा उदाएका यादव तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनिसकेका छन् । यो अवधिमा मधेशका मुद्दा सम्बोधनभन्दा पनि सत्ता र संसद्‍बाहिर अडिन नसक्ने नेता भन्दै मधेशमा उनीमाथि प्रश्न उठेको छ । यद्यपि अध्यक्ष यादवले सोमबार उम्मेदवारी दर्ता गराएपछि मधेशी जनताका समस्या समाधानका लागि आफू फेरि चुनावी प्रतिस्पर्धामा आएको धारणा राखेका छन् ।
अर्कोतिर हालको सरकारमा उपप्रधानमन्त्री पाउँदासमेत सहभागी नभएका राउतले गठबन्धन सरकारमा आफूहरूले सोचेजसरी काम गर्ने ठाउँ नपाएको भन्दै सरकारमा सहभागी एक मन्त्रीलाई समेत फिर्ता बोलाएका छन् । जनमतबाट सरकारमा सहभागी रहेका अब्दुल खानले गत शुक्रबार मात्रै खानेपानीमन्त्रीबाट राजीनामा दिएका थिए ।
यादवमाथि एकातिर सत्तालिप्साको आरोप लाग्ने गरेको छ भने अर्कोतिर यही बेला जनमतले सत्तालाई भन्दा मुद्दालाई केन्द्रमा राख्ने राजनीतिक चरित्र प्रदर्शन गरिरहेको छ । जनमतको उदय यादवलाई भारी पर्न सक्ने देखिएको हो । जनमतले सत्ताभन्दा बाहिर रहेर पनि शक्ति आर्जन गर्न सकिन्छ भन्ने मुद्दा अघि सार्दा मधेश मुद्दामा आधारित राजनीतिक दल र नेतृत्वलाई धक्का पुगेको छ ।
यसअघि सप्तरी–२ मा अध्यक्ष यादवलाई जनमतका अध्यक्ष राउतले दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका थिए । बारा–२ मा भने यसअघि जसपाका रामसहायप्रसादले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । मतान्तर ३५४ मात्रै थियो । त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत र अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार ७ सय ५० मत पाएका थिए ।
पाँच महिनाअघि जसपाकै नेतासँग झिनो मतान्तरले पराजित भएका कुशवाह यस पटक टिकट नपाउने संकेत पाएपछि जनमत प्रवेश गरेर उम्मेदवार बनेका छन् । यस पटक नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् भने रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दिएका छन् । सोमबार भएको मनोनयन दर्तामा यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि ३६ जनाको मनोनयन दर्ता भएको छ ।
रास्वपाले सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाएको छ । ‘एकको बदला तीन’ भन्ने नारासहित काठमाडौं–१ बाट पराजित खरेललाई रास्वपाले उम्मेदवार बनाएको हो । राजनीतिक विश्लेषक तुलानारायण साह बारा–२ मा एमाले, रास्वपाभन्दा पनि जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष राउतबीचमै रोचक प्रतिस्पर्धा हुने बताउँछन् । उनका अनुसार यादव ०६३ को मधेश आन्दोलनको विरासत बोकेका नेता हुन् । १६ वर्षदेखि संसदीय यात्रा गरेका यादव र ५ महिनाअघि मात्रै संसदीय राजनीतिमा प्रवेश गरेका राउतबीचको यो चुनावी प्रतिस्पर्धा समग्र मधेशको शक्तिसँग जोडिएको छ ।
जनमत उम्मेदवार कुशवाहाले हार्दा सीकेजीका लागि ठूलो असर पर्दैन किनकि बारा–२ जनमतको विरासत भएको ठाउँ होइन तर उपेन्द्रजी हार्नुभयो भने राष्ट्रिय राजनीतिमा पुनःस्थापित हुन कठिनाइ पर्न सक्छ,’ साह भन्छन्, ‘यस अर्थले बारा–२ को निर्वाचन राष्ट्रिय चासोको विषय बनेको हो ।’
जसपा अध्यक्ष यादव ०४८ सालयता निरन्तर चुनावी प्रतिस्पर्धामा छन् तर उनको निश्चित क्षेत्र छैन । सुरुमा पूर्वी तराईबाट चुनाव लडेका यादव अब भित्री मधेश पसेका छन् । ०४८ को निर्वाचनमा सुनसरी–४ बाट उठेका उनले ०६४ र ०७० मा सुनसरी–५ मा प्रतिस्पर्धा गरेका थिए ।
०७४ को निर्वाचनमा उनी सप्तरी–२ आइपुगे । यस पटक दोहोरिएर निर्वाचित हुने चाहनामा ब्रेक लागेपछि उनी बारा–२ पुगेका हुन् ।

समाचार

गठबन्धनबाट टाढिँदै जनमत

- कान्तिपुर संवाददाता

काठमाडौ‌‌ं (कास)– प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक विश्वासको मत दिएको सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट किनारा लागेको छ । सरकारलाई दिएको समर्थन फिर्ता नगरे पनि राजनीतिक रूपमा गठबन्धनबाट टाढिएको हो ।
सत्ता गठबन्धनले उपनिर्वाचन हुने तीन ठाउँमा
आफ्ना उम्मेदवारलाई जिताउन मंगलबार अपिल जारी गरेको छ । यस्तो अपिल जारी गर्नेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपा मात्र छन् । उपराष्ट्रपति निर्वाचनमा जसपालाई च्यापेका मुख्य दलले उपनिर्वाचन हुने बारा–२ मा पनि उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेका छन् । गठबन्धनका आधिकारिक उम्मेदवारका रूपमा यादवलाई घोषणा गरिएपछि जनमत पार्टी झन् चिढिएको छ । ‘प्रधानमन्त्रीले उपेन्द्र यादवका लागि गठबन्धन चाहिएको हो कि मुलुकका लागि भन्ने स्पष्ट गर्नुपर्छ,’ जनमतका महासचिव चन्दन सिंहले कान्तिपुरसँग भने, ‘सबै काम उपेन्द्र यादवलाई
केन्द्रमा राखेर गर्न खोज्नुभएको छ भने हामी उहाँलाई किन चाहियो ?’
पटक–पटकको प्रतिबद्धतापछि पनि प्रधानमन्त्री दाहालले भनेको मन्त्रालय नदिएपछि जनमत पार्टीका मन्त्री अब्दुल खानले राजीनामा दिइसकेका छन् । एमालेसँग गठबन्धन गरेर सरकारमा सहभागी हुने बेला नै जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो । त्यही मन्त्रालय दिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका पनि थिए तर पछि दलीय भागबन्डामा जनमतलाई खानेपानी मन्त्रालय दिइयो । असन्तुष्टिका बीच पनि जनमत पार्टीले मन्त्री पठायो । पुरानो गठबन्धन भत्केर कांग्रेससहितको नयाँ गठबन्धन बन्ने क्रममा पनि जनमतले उद्योग मन्त्रालय नै माग्यो । प्रधानमन्त्रीले फेरि दिने प्रतिबद्धता जनाए तर मन्त्रिपरिषद्को कार्यविभाजनमा उक्त
मन्त्रालय कांग्रेसको भागमा परेपछि खानले राजीनामा दिएका हुन् ।
सत्ता गठबन्धनमा सहभागी भए पनि जनमत पार्टीले जसपालाई स्विकारेको छैन । त्यसैले उसले उपराष्ट्रपति चुनावमा जसपा उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध आफ्नै उम्मेदवार खडा गर्‍यो । जनमतले ममता झालाई उम्मेदवार बनाएको थियो । बारा–२ को उपनिर्वाचनमा पनि गठबन्धनले यादवलाई नै सघाउने भएपछि जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ । जनमतबाट शिवचन्द्र कुशवाह उम्मेदवार छन् ।
सत्ता गठबन्धनभित्र जसपासँग प्रतिस्पर्धीका रूपमा खडा भएपछि अब जनमत पार्टी मधेश प्रदेश सरकारबाट पनि किनारा लाग्ने अवस्थामा पुगेको छ । जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले मंगलबार जनमत पार्टीका मन्त्रीलाई पनि हटाउने चेतावनी दिएका छन् । मुख्यमन्त्रीको यस्तै चेतावनीपछि मंगलबार एमाले मन्त्रीले राजीनामा दिएका थिए ।
सत्ता गठबन्धनका पाँच दलले आफ्ना आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । मंगलबार शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन् । गठबन्धनबाट तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् ।
‘आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रूपमा परिचालित हुन आवश्यक छ,’ विज्ञप्तिमा छ, ‘यसर्थ गठबन्धन दलका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था/संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नू/गराउनू हुन हार्दिक आह्वान गर्दछौं ।’
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेका हुन् ।

समाचार

मधेश सरकारबाट बाहिरियो एमाले

- अजित तिवारी

(जनकपुर)
मधेशको ठूलो दल एमाले प्रदेश सरकारबाट अलग भएको छ । एमालेका चार जना मन्त्रीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन् । राजीनामा गर्न मुख्यमन्त्री यादवले निर्देशन दिएपछि उनीहरूले पद छाड्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका हुन् । सोमबार राति मुख्यमन्त्री यादवले एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई फोन गरेर सरकारबाट राजीनामा गर्न निर्देशन दिएका थिए ।
राष्ट्रपति निर्वाचनसँगै संघमा सत्ता गठबन्धन फेरिएपछि एमाले संघ सरकारबाट बाहिरिइसके पनि मधेशमा सरकार छाड्न हतार गरेको थिएन । उपनिर्वाचन सुरु भएपछि मुख्यमन्त्री यादवले एमालेलाई सरकार छाड्न भनेका हुन् । एमालेको मधेश प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा चारै मन्त्रीले राजीनामा बुझाएका हुन् ।
मधेश सरकारमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री थिए । एमालेकी सांसद शारदादेवी थापाले मुख्यमन्त्री यादवको मागअनुसार पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएको बताइन् । ‘मुख्यमन्त्रीज्यूले फोन गरेर राजीनामा गर्न भन्नुभएको थियो,’ उनले भनिन् ।
एमालेले छाडेका मन्त्रालयमा कांग्रेसलाई ल्याउने तयारी भइरहेको मुख्यमन्त्री यादवनिकट स्रोतले जनाएको छ । क–कसलाई मन्त्री बनाउने भनेर कांग्रेस पनि आन्तरिक छलफलमा छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले एमालेका मन्त्रीले राजीनामा गरेपछि आफ्नो पार्टी सरकारमा जाने बाटो खुलेको बताए ।
कांग्रेसले मधेश प्रदेश सरकारमा मुख्यमन्त्रीकै दाबी गरिरहेको छ । मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झाले नेतृत्व नै लिएर कांग्रेस सरकारमा सहभागी हुने बताए । ‘हाम्रो दाबी मुख्यमन्त्रीमै छ, जसपाको नेतृत्वमा सरकारमा जाने विषयमा छलफल भएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘संघीय गठबन्धनले गर्ने सहमतिअनुसार नै मधेश प्रदेश सरकारमा कांग्रेस सहभागी हुनेछ ।’
मुख्यमन्त्री यादवनिकट स्रोतका अनुसार मधेश प्रदेश सरकारबाट जनमत पार्टीका मन्त्रीलाई पनि हटाउने तयारी भइरहेको छ । जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा दुई जना मन्त्री छन् ।

Page 4
युवा ग्यालरी

ट्वीटरको चरा 'उड्यो’ कुकुरको पहरेदारी

- कान्तिपुर संवाददाता

 

एजेन्सीहरू (न्युयोर्क)
ट्वीटरको होमपेज खोल्नेबित्तिकै सधैं एउटा प्रश्न देखिन्छ– ह्वाट्स ह्यापेनिङ अर्थात् के भइरहेको छ ? यो प्रश्नको अहिलेको सम्भावित उत्तर हो– ट्वीटरमा धेरै कुरा भइरहेको छ । र, यस्तो हुनुको पछाडिका कारण हुन्, विश्वका अर्बपति प्रविधि व्यवसायी
इलन मस्क ।
करिब एक वर्षअघि ४४ बिलियन डलर (करिब ५४ खर्ब रुपैयाँ) मा मस्कले ट्वीटर किनेका थिए । त्यसयता आफ्ना ट्वीट र निर्णयका कारण उनी बारम्बार विवादमा पर्दै आएका छन् । उनको पछिल्लो निर्णय हो, ट्वीटरको लोगो परिवर्तन । यसअघि लोगोका रूपमा रहेको ‘नीलो चरा’ (ब्लु बर्ड) लाई परिवर्तन गरी उनले अहिले डोजकोइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकुर) लाई ट्वीटरको लोगो बनाएका हुन् ।
लोगो परिवर्तन भएपछि सोमबार विभिन्न ट्वीटर युजरहरूले यसबारे आ–आफ्ना धारणा राखेका थिए भने ट्वीटरका सीईओसमेत रहेका मस्कले ट्वीटरमा रहेको नीलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिने खालको मिम पोस्ट गरेका थिए । अझै पनि केही मोबाइल डिभाइसमा भने ट्वीटरको लोगोमा नीलो चरो नै देखिइरहेको छ । ट्वीटरको लोगोका रूपमा नयाँ आइकन आएसँगै डोजक्वाइनको सेयर भ्यालु ३० प्रतिशतले बढेको छ । अहिले डोजक्वाइनको भ्यालु ०.०७९ डलरबाट ०.०९४ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ ।
मिमका रूपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्वीटरको लोगो बनेको छ । परिवर्तन भएको
ट्वीटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो । मस्कले आफू डोज मिमको ठूलो फ्यान भएको बताउँदै आएका छन् । मस्कले लोगो परिवर्तनको कारणबारे भने खुलाएका छैनन् । कतिपयले भने अप्रिल फुल मनाएको भनी टिप्पणीसमेत गरेका छन् ।
फेब्रुअरी १५ मा उनले एउटा कुकुरको तस्बिर सेयर गर्दै लेखेका थिए– ट्वीटरको नयाँ सीईओ कमालको छ । केही दिनअघि मात्रै मस्कले एउटा मिम सेयर गरेका थिए । जहाँ एक प्रहरी हातमा कार्ड लिएर उभिएका थिए । कार्डमा ट्वीटरकै
लोगो भएको नीलो चरो थियो । तर कुकुरले जवाफ दिएको थियो– यो त पुरानो चरो हो । मस्कले उक्त मिमबाटै लोगो फेर्ने संकेत गरेका थिए । त्यसैको परिणाम हाल उनले ट्वीटरको लोगोमा कुकुरलाई स्थापित गरिदिए ।
हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट हो ट्वीटर । मस्कले ट्वीटर किनेसँगै यसमा आमूल परिवर्तन हुने घोषणा गरेका थिए । तर, पछिल्लो समय करोडौं युजर्सलाई तरंगित पार्ने गरी ब्लु टिकका लागि पैसा तिर्नुपर्ने नियम ल्याएपछि उनको यो निर्णय विवादमा परेको थियो ।
डोजक्वाइन विश्वको तेस्रो शक्तिशाली क्रिप्टोकरेन्सी मानिन्छ । मस्कमाथि डोजक्वाइनलाई बढावा दिनका लागि निवेशकलाई प्रभावित गरेको आरोप पनि लाग्ने गरेको छ । डोजक्वाइन र एलन मस्कसँग जोडिएको एउटा मुद्दा अदालतमा चलिरहेको छ । मस्कमाथि २५८ बिलियन डलरको मुद्दा अमेरिकामा चलिरहेको छ । मस्कले शुक्रबार अदालतसमक्ष उक्त मुद्दा बन्द गर्न भनेका थिए । मस्कका वकिलले उनले निवेशकलाई प्रभावित पार्ने गरेको कुनै आधार नभएको जिकिर गर्दै
आएका छन् ।
सन् २०२१ मा मस्कले डोजी–१ नामको स्याटेलाइट लञ्च गर्ने जनाएका थिए, जो चन्द्रमासम्म पुग्नेछ । र, यस मिसनको लागत डोजक्वाइनबाट गर्न सकिने उनको योजना थियो । यसबाट डोज शब्दसँग उनको लगावलाई बुझ्न सकिन्छ ।
मस्कले डोजीलाई नै ट्वीटरको लोगो बनाउनुको कारण भने खुलाएका छैनन् । जबकि उनी केही समययता डोजक्वाइनबाट दायर भएको मुद्दा खारेज गर्न माग गरिरहेका थिए । मस्कले कुकुरको प्रयोग गर्नुको कारण जे भए पनि सोसल मिडिया मिम एक प्रमुख कारण मानिएको छ । साथै उक्त कुकुरलाई विभिन्न स्थानमा विशेष ऐतिहासिक घटनासँग पनि जोडेर हेर्ने गरिन्छ । जापानमा कुकुरको एउटा प्रजाति छ, शिवा इनु । यही प्रजातिको एउटा कुकुरको नाम हो– काबोसु । अहिले सामाजिक सञ्जालमा सेयर भएको यो कुकुरको तस्बिर सन् २०१० मा एउटा ब्लगमा अपलोड गरिएको थियो । डोजक्वाइनमा प्रयोग हुन थालेपछि यो कुकुरको तस्बिर चर्चामा आएको थियो ।
दक्षिण अफ्रिकामा जन्मिएका मस्कले सन् १९९९ मा अनलाइन पेमेन्ट सिस्टम पेपाल स्थापना गरेका थिए । सन् २००२ मा उनले १.५ अर्ब डलरमा पेपाल इबे कम्पनीलाई बेचे । यसबाट उनलाई १८ करोड डलर फाइदा भएको टाइम म्यागजिनको रिपोर्टमा उल्लेख छ । त्यसपछि इलनले स्पेस एक्स नामक रकेट कम्पनी स्थापना गरे । यसले नासासँग मिलेर अन्तरिक्षका मिसनहरूमा काम गर्छ । मंगल ग्रहमा उपनिवेश खडा गर्ने इलनको लक्ष्य छ । उनी मान्छेको टाउकोभित्र कम्प्युटर जडान गर्ने परियोजनामा पनि काम गरिरहेका छन् ।
न्युरोलिंक नामक उनको कम्पनीले मानिसको खोपडीमा माइक्रोचिप्स जडान गर्ने र रोबर्टद्वारा मस्तिष्कको सर्जरी गर्ने प्रणाली निर्माणको काम गरिरहेको छ । आफूहरूले मानव मस्तिष्क र आर्टिफिसियल इन्टेलिजेन्सको सहअस्तित्व विकास गर्न खोजेको मस्क बताउने गर्छन् । न्युरोलिंकलाई उनको अनौठो र भविष्यवादी (फ्युचरिस्टिक) कम्पनीका रूपमा लिइन्छ । हार्वर्ड विश्वविद्यालयकी इतिहासविद् जिल लेपोरेले ‘दि इभनिङ रकेट’ नामक आफ्नो पडकास्टमा मस्कलाई साइन्स फिक्सनमा आधारित चरम पुँजीवादका प्रतिनिधि पात्रका रूपमा अर्थ्याएकी छन् । अन्तरिक्ष कब्जा गर्नुका साथै मानवताको रक्षा गर्नेजस्ता अजिब योजना बनाउने मस्कको पारालाई उनी ‘मस्किजम’ को संज्ञा दिन्छिन् । उनको परिभाषामा मस्किजम भनेको टेक्नो–युटोपियनिजम (प्रविधिसँग सम्बन्धित आदर्शवाद) हो, जुन असाध्यै आकर्षक र उत्तिकै खतरनाक छन् । आफ्ना महत्त्वाकांक्षी परियोजनाहरूबाहेक मस्क इन्टरनेटलाई ध्रुवीकरण गर्ने व्यक्तिका रूपमा पनि परिचित रहेको यूएसए टुडेको समाचारमा भनिएको छ ।

युवा ग्यालरी

गान्धीको दान्डी यात्रा

- कान्तिपुर संवाददाता


भारतमा शासन गरिरहेको अंग्रेज सरकारविरुद्ध महात्मा गान्धीले सन् १९३० मा थालेको दान्डी यात्रा वा नुन सत्याग्रह आजकै दिन (अप्रिल ५) सम्म चलेको थियो । २४ दिनसम्म चलेको उक्त यात्रा सोही वर्षको मार्च १२ देखि सुरु भएको थियो । अंग्रेज सरकारले उक्त वर्ष नुनमाथि कर लगाउने कानुन ल्याएको थियो, जसको विरुद्ध गान्धीले आन्दोलन थालेका थिए । यो आन्दोलनमा गान्धीसहित ७८ जनाले अहमदावादको साबरमति आश्रमबाट दान्डी गाउँ (३९० किमि) सम्म पैदल यात्रा गरेका थिए ।
भारतमा अंग्रेजको शासनकालमा नुन उत्पादन र बिक्रीमा अत्यधिक कर लगाइएको थियो । नागरिकको आधारभूत आवश्यकतामा पर्ने नुनमाथिको धेरै कर हटाउन माग गर्दै गान्धीले हिंसारहित आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनका क्रममा गान्धीसहित धेरै भारतीय नेता पक्राउ परे । एक वर्षसम्मको आन्दोलनपछि गान्धी जेलबाट रिहा भए भने नुनमाथि कर लगाउने कानुन फिर्ता लिन अंग्रेज सरकार बाध्य भएको थियो । यही आन्दोलनका कारण भारतभर अंग्रेज सरकारविरुद्ध जनसंघर्ष फैलिएको थियो । अंग्रेजको सत्ताविरुद्ध सबै भारतीयलाई आन्दोलनमा ल्याउन एकताबद्ध र उत्प्रेरित गरेको दिनका रूपमा पनि यो दिन भारतीय इतिहासमा प्रसिद्ध छ ।

युवा ग्यालरी

पहाडमा युवाको पौरख

- वीरेन्द्र केसी

(अर्घाखाँची)
सन्धिखर्ककी रमा खत्रीले युवा उमेरमै पति गुमाइन् । ३ छोराछोरीको लालनपालन र घरको ६ लाख ऋण काँधमा थपियो । शोकलाई शक्तिमा बदल्ने अठोट गर्दै उनले कृषि विकास बैंकबाट १० लाख रुपैयाँ ऋण लिएर घरमै हिमाली चाउचाउ उद्योग सुरु गरिन् । सन्धिखर्क बजार र गाउँमा राम्रो बिक्री हुँदै गयो । केही वर्षभित्रै यो चाउचाउ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेपालकै दोस्रोस्तरमा छनोट भयो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट पुरस्कार र प्रशंसापत्रले सम्मानित हुँदा उनका खुसीका आँसु झरे । ‘आँट गरेपछि सफलता मिल्दो रहेछ,’ उनले भनिन्, ‘कैयौं दिन रातभर जाग्राम बसेर एक्लै काम गरें । बजारमा बेच्न दौडिएँ, निरन्तरको मिहिनेत गरेपछि सफलता पाएँ ।’ डेढ दशकमा उद्योगबाट रमाले मनग्य आम्दानी गरेकी छन् ।
छत्रदेव–३ बल्कोटका पशुपति पाण्डे युवा कृषि उद्यमी हुन् । विद्यालयसम्म गाउँमै पढे । घरको र क्लिनिकको ऋण तिर्न २३ वर्षको उमेरमै साउदी गए । दुबई र कतार पनि पुगे । दुबईमा एक वर्ष र कतारमा ३ वर्ष काम गरे । कतारमा महिनाको दुई लाख रुपैयाँ नेपाली तलब थियो । कम्पनीमा खरिद अधिकृत भएर काम गरे । विदेशमा जागिर गर्दा घरको सम्झना आइरहन्थ्यो । कतारको मरुभूमिमा इरान, टर्की र साउदीबाट हवाईजहाजमा माटो ल्याएर टनेलमै गोलभेंडा, सिमी, साग, ब्रोकाउलीलगायत व्यावसायिक तरकारी खेती गरेको देखे । कम्पनीले बेलाबेलामा त्यही तरकारी फार्ममा हेर्न लैजान्थ्यो । ‘तीन वर्षअघि स्वदेश फर्केर बल्कोट गाउँमै च्याउ खेती सुरु गरें,’ उनले भने, ‘बजार सोचेजस्तो भएन । उत्पादन राम्रो भए पनि कोरोनाका कारण बिक्री भएन ।’
जन्मघर बल्कोट छाडेर सन्धिखर्क नगरपालिका–५ बलेवाङ फाँटमा ३० रोपनी खेत भाडामा लिएर अकबारे (डल्ले) खुर्सानी खेती गरेको उनले बताए । खुर्सानी काठमाडौंका बजारमा बिक्री हुन्छ । गाउँका युवा रोजगारी खोज्दै विदेश जाँदै थिए । ‘मैले खेती गरेको देखेपछि बल्कोट गाउँका २० जना युवाले खुर्सानी खेती सुरु गरे,’ उनले भने, ‘जहाँ जे पेसा गरे पनि त्यसप्रति लगाव, निरन्तर मिहिनेत गरेपछि सफल भइन्छ ।’ कृषि उद्यमीलाई राज्यले विशेष छुट दिनुपर्ने र कृषि औजार, बीउ, मल, कीटनाशक औषधिमा भन्सार छुट गर्नुपर्ने पाण्डेले बताए । अब मेवा खेती दूधजन्य परिकारका लागि गाईभैंसी पाल्ने सोच बनाएको उनले बताए ।
सन्धिखर्क–४ वाङ्लाका दीपक श्रेष्ठले व्यापारबाट आफ्नो मात्र होइन, थुप्रै युवाको व्यावसायिक जीवन सफल बनाउन भूमिका खेलेका छन् । उनले २०६१ मा जिल्लामा गाडी भित्र्याएर वैदेशिक रोजगारीमा जानेलाई स्वदेशमै काम गर्न हौस्याए । श्रेष्ठले गाडी खरिद गरेर व्यवसाय सञ्चालन गर्नेसँग सहकार्यमा लगानी गरेर गाडी भित्र्याउन सुरु गरेका थिए । २०/२५ लाख रुपैयाँ पर्ने गाडीलाई ५/६ लाखमा व्यवसायीको हातमा पुर्‍याए । २०६१ मा श्रेष्ठ ब्रदर्स एन्ड अटो मोबाइल्स कम्पनी प्रालि दर्ता गरेर जिल्लामा थुप्रै गाडी भित्र्याए । श्रेष्ठको जिप, बस र ट्याक्सीको कारोबार छ । अहिले ६० जना चालकले अर्घाखाँची, पोखरा र स्याङ्जामा गाडी चलाउँछन् । अहिलेसम्म करिब ६ सय जनालाई यातायात व्यवसायमा आबद्ध बनाएर स्वरोजगार भएको श्रेष्ठको दाबी छ ।
सन्धिखर्कका योगेन्द्र खड्का जिल्लामा सफल उद्यमीका रूपमा परिचित छन् । कुनै बेला कामकै लागि भारत पुगेका उनी त्यहाँको हेपाहा प्रवृत्तिका कारण स्वदेशमै फर्किए । २०५९ पुस २९ मा उनले पशुपति पाउरोटी उद्योग सञ्चालन गरे । केही वर्ष घाटामा जाँदा व्यवसाय छाड्ने मनस्थितिमा पुगेका थिए । तर ३ वर्षपछि नाफामा गएपछि देउराली चाउमिन तथा सस उद्योग खोलेर बिजनेसलाई बढाए । उद्योगबाट उत्पादित पाउरोटी, क्रिमरोल, समोसा, बिस्कुट, पेस्टिज, दुनट, स्पेसल बड्डे केक गुणस्तरीय र राम्रो भएपछि घरेलु कार्यालयबाट पुरस्कृत भएका छन् । अहिले ६० लाख रुपैयाँ लगानीमा
खड्काले आधुनिक मेसिन ल्याएर पाउरोटी उद्योग सञ्चालन गरेको बताए ।
पछिल्लो समय कन्स्ट्रक्सन, सवारी गाडी सेवा छ । साथै ठेक्कापट्टाको काम पनि गर्छन् । निर्माणको काम गर्न मेसिन आफ्नै छन् । पाउरोटी उद्योगदेखि सबै बिजनेसमा गरी आफ्ना सबै उद्योगमा गरी ६० जनालाई रोजगारी दिएका छन् । ‘उद्योगबिना देश चल्न सक्दैन,’ उनी भन्छन्, ‘देशको दिगो विकासका लागि औद्योगिक आन्दोलन जरुरी छ ।’ पछिल्लो समय जिल्लामा युवाले उद्यम व्यवसाय सञ्चालन गरेर आफू स्वरोजगार मात्र बनेका छैनन्, अन्य युवालाई पनि रोजगारी दिएका छन् ।

युवा ग्यालरी

‘दि डिपार्टेड डन’ लाई तीन अवार्ड

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– विमल सुवेदी निर्देशित नाटक ‘दि डिपार्टेड डन’ ले भारतको प्रतिष्ठित ‘महिन्द्रा एक्सिलेन्सी थिएटर अवार्ड’ मा ३ वटा अवार्ड जित्न सफल भएको छ । भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेको यो नाटकले संगीत, कोरियोग्राफी र प्रमुख भूमिकामा अभिनेतातर्फको अवार्ड जितेको हो ।
सुवेदीको लेखन रहेको यो नाटक निर्देशनसहित ४ मनोनयनमा परेको थियो । भुटानी शरणार्थीका जीवन, पीडा र संघर्ष नाटकमा समेटिएको छ । नाटक पर्फमिङ आर्टको शैलीमा तयार भएको छ । यो नाटक नेपालमा मञ्चन भएको छैन । विमलको टिमले नेपालमा यो नाटक मञ्चन गराउने रहर भएको जनाएको छ । विमलले सन् २०१६ मा भारतमा अन थिएटर अवार्ड प्राप्त गरेका थिए । उनी यो अवार्ड पाउने कम उमेरका नाट्यकर्मी हुन् भने सन् २०२२ मा मलेसियामा इन्टरनेसनल हेरिटेज अवार्ड पनि प्राप्त गरेका थिए ।

Page 5
समाचार

कार्यस्थलमा यौनहिंसा : सधैं त्रासमा महिला

- मधु शाही

 (काठमाडौं)
वन विभाग अन्तर्गतको एक कार्यालयकी कर्मचारी गौरी (नाम परिवर्तन) मातहत एक पुरूष गेमस्काउट थिए, जसले महिला भएकै कारण हेप्ने प्रवृत्ति बढ्दै गयो, दुई वर्षअघि एक दिन ती कर्मचारीले यौन दुर्व्यवहार गर्न पुगे ।
२०७७ फागुन १६ गते राति ११ बजे आफूमाथि यौनजन्य दुर्व्यवहार भएको उनी बताउँछिन् । ती कार्यालय सहयोगी दिउँसै रक्सी खाएर लट्ठिएर बसेका थिए । एक ठेकेदारले कतै लैजान्छु भन्दै बोलाउन आए । मदिराले लट्ठ कर्मचारी राति ११ बजे दुई/चार जना केटाहरू लिएर गौरीको क्वाटरमा ढोका ढकढकाउन आइपुगे । ‘अपशब्द बोल्दै ढोका खोल्न धम्क्याइरहे । ढोका नखोलोस् भनेर ढाडले च्यापेर बसिरहें,’ उनी भन्छिन् । भोलिपल्टै उनले आफूमाथि भएको घटना वार्डेनलाई सुनाइन् । तर, उनले वास्तै गरेनन् ।
न्यायकै खोजीमा पीडकलाई विभागीय कारबाही हुनुपर्ने माग राख्दै उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी दिन पुगिन् । हाल एक निकुञ्ज कार्यालयमा रेन्जर पदमा कार्यरत उनी अझै न्यायबाट वञ्चित छिन् । ‘त्यो घटनाले अझै पनि मन खिन्न हुन्छ,’ उनी भन्छिन्, ‘मैले सजिलै न्याय पाउन सकिनँ, तर अरूलाई यस्तो नहोस् भनेर हिंसाविरुद्ध जुट्न सहकर्मीहरूलाई आह्वान गरिरहेकी छु ।’
घटनापछि गौरीलाई त्यहाँ काम गर्न असुरक्षित महसुस हुन थाल्यो । उनले वार्डेन लक्ष्मणप्रसाद पौडेललाई घटनाको छानबिन गरी न्याय पाऊँ भन्दै निवेदन दिइन् । ‘तर, वार्डेनले नै घटना सामान्य भएको बताउँदै त्यही दुर्व्यवहार गर्ने कर्मचारीसँगै बस्न भने,’ उनले सुनाइन्, ‘घटना सार्वजनिक भए कार्यालयको इज्जतमा दाग लाग्छ भनेर कार्यालय प्रमुखलगायतले सुझाव दिन थाले ।’ १५ दिनपछि उनले विभागका महानिर्देशक दीपक खरालसमक्ष निवेदन दिइन् तर कारबाही अघि बढेन । वार्डेन पौडेलले घटनाको प्रक्रियागत छानबिन गर्न केही समय लागेको स्वीकार गरे । उनका अनुसार अहिले आरोपितको सरुवा भएको छ भने निजामती ऐनअन्तर्गत दुई ग्रेड तलब कट्टा गर्न निवेदन विभागमा पठाइएको छ । ‘मेरो काम निवेदन पठाउने मात्रै हो, कार्यान्वयन भयो या भएन जानकारी छैन,’ पौडेलले भने ।
गौरीले २०७८ वैशाख १३ गते पीडितलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत निवेदन दिइन् । त्यतिबेला प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली थिए । त्यहाँ पनि उनको सुनुवाइ भएन । केही महिनापछि सरुवा भई आएका प्रजिअ गोविन्दप्रसाद रिजालले भने पीडितमाथि दुर्व्यवहार भएको ठहरसहित मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अन्तर्गत अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिन सक्ने निर्णय गरे ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७८ वैशाख २ मा आरोपितको नाम उल्लेख गर्दै २ ग्रेड तलब वृद्धि रोक्का गर्न लोकसेवा आयोगलाई वन मन्त्रालयमार्फत पत्राचार गरे पनि थप कारबाही केही नभएको गौरीको भनाइ छ । विभागका सूचना अधिकारी गणेश पन्तले आरोपित कारबाहीमा परे/नपरेको बुझ्न प्रशासनमा सोधपुछ भइरहेको बताए ।
यता, कार्यस्थलमा यौनजन्य हिंसा खेपेकी गौरीको घटना छानबिन गर्न वन मन्त्रालयमार्फत बनेको समिति पनि थप कारबाहीप्रति बेखबर छ । समितिकी संयोजक वन मन्त्रालयकी सहसचिव राधा वाग्लेले प्रतिवेदन मन्त्रालयमा बुझाए पनि प्रक्रिया अगाडि बढेकोबारे जानकारी नआएको बताइन् । ‘हामीले प्रतिवेदनमा कारबाही हुनुपर्ने प्रस्ट माग राखेर फाइल मन्त्रालयमा बुझाएका हौं,’ उनले भनिन्, ‘त्यो फाइल अहिलेसम्म गुपचुप छ, यो भनेकै कार्यस्थलमा माथिल्लोस्तरबाटै लैंगिक संवेदनशीलताको अभाव देखिनु हो ।’ मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले भने यस्ता विषयमा आफूले जानकारी नराख्ने भन्दै उम्किए । मन्त्रालय र कार्यालयका प्रमुखबाटै आरोपितलाई संरक्षण गर्न खोजिएको पीडित र मन्त्रालयका महिला कर्मचारीको गुनासो छ ।
वनकै महिला कर्मचारीले भोग्नुपरेको अर्को कहालीलाग्दो घटना छ । फरेस्टर पदमा कार्यरत रीता (नाम परिवर्तन) लाई तीन वर्षअघि काम गर्दा सहायक वन अधिकृत तुलाराम घिमिरेले यौनजन्य दुर्व्यवहार गरे । २०७७ साउन १३ गते दिउँसो २ बजे कार्यालयमा रहेकी रीताको फेसबुक म्यासेन्जरमा भिडियो कल आयो । सुरुमा हालखबर सोधेका उनले अचानक अश्लील दृश्य प्रदर्शन गरी यौनजन्य भाव प्रकट गरे । त्यसपछि हत्तपत्त कल काटिदिएको रीता बताउँछिन् । वन मन्त्रालयमा निवेदन दिन पुग्दासमेत कारबाही नभएपछि उनी जिल्ला प्रशासनमा न्यायका लागि पुगिन् । २०७७ भदौ १९ गते कार्यालयमा उनले उजुरी दिइन् । कात्तिक २० गते प्रजिअले निवेदक रीताको पक्षमा फैसला गरे । आरोपित घिमिरेले अश्लील क्रियाकलाप गरेको ठहर गर्दै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिम सजाय तोकियो । पीडकले ५० हजार रुपैयाँ जरिवाना बुझाए भने पीडित रीतालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइयो ।
आफूले न्याय र क्षतिपूर्ति पाए पनि खराब आचरण भएको कर्मचारीले अन्यत्र पनि उस्तै दुर्व्यवहार गर्न सक्ने खतरा रहेको रीता बताउँछिन् । ‘मैले न्याय पाए पनि त्यो व्यक्तिले अरू ठाउँमा पनि उस्तै दुर्व्यवहार गरिरहेको सुनियो,’ उनी भन्छिन्, ‘अपराधीलाई सरुवा गरेर चोखिने प्रवृत्ति छ ।’
वाग्मती प्रदेशअन्तर्गत सहायक वन अधिकृत सरु अर्यालका अनुसार कार्यालयस्थलमा भइरहने यौनजन्य दुर्व्यवहारको संरक्षण कार्यालयभित्रैका कर्मचारीले गर्छन् । कतिपय महिलालाई हिंसा भएको नै थाहा हुँदैन भने हिंसा सहनेले न्यायिक उपचार पाउन धेरै चुनौती सामना गर्नुपरेको उनी बताउँछिन् । ‘एक त कार्यालस्थलमा हुने यौनजन्य हिंसा के हो भन्ने धेरै पुरुष र महिलालाई थाहा छैन,’ उनी भन्छिन्, ‘विरोध गर्न खोज्दा पितृसत्तात्मक धारणाले प्रभाव पार्दो रहेछ ।’
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ मा कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै कार्य गरे वा गराएमा यौनजन्य दुर्व्यवहार गरेको मानिनेछ । तर, ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा न्याय पाउन पीडित अनेक सास्ती झेल्न बाध्य छन् । यौनजन्य आशयले शरीरको कुनै अंगमा छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा यौनजन्य दुर्व्यवहार मानिएको छ ।
ऐनले प्रत्येक कार्यालय लैंगिकमैत्री हुनुपर्नेमा जोड दिएको छ । जसअन्तर्गत महिला कर्मचारीले आफूमाथि कार्यस्थलमा यौनजन्य दुर्व्यवहार भए गोप्य सूचना दिन पाउने अधिकार छ । त्यसका लागि कार्यालयमा गुनासो पेटिका राखिने र लैंगिक फोकल पर्सनलाई गोप्य उजुरी दिने प्रावधान छ । सहायक वन अधिकृत अर्याल यी सबै सुविधा प्रयोगमा नआएको बताउँछिन् । वन मन्त्रालयका ‘जेन्डर फोकल पर्सन’ शिव वाग्लेले महिला कर्मचारीको कुनै गुनासो नआएको दाबी गरे । ‘उजुरी आए प्रशासनले कारबाही गर्छ,’ उनले भने ।
महिलामाथि कार्यस्थलमा हुने कुनै किसिमको यौन हिंसा निवारणका लागि ऐन बनाउन आवश्यक रहेको भन्दै सर्वोच्च अदालतले २०६१ सालमा सरकारलाई निर्देशन दिएको थियो । १० वर्षपछि ऐन पनि बन्यो तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको यस क्षेत्रका जानकार बताउँछन् । ऐनमा सरकारी कार्यालय तथा निजी संघसंस्थामा महिला, पुरुष वा अन्यमाथि हुने कुनै पनि किसिमका यौन हिंसाबारे उजुरी गर्न सकिने व्यवस्था छ ।
वरिष्ठ अधिवक्ता मीरा ढुंगाना भने कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐनले उल्टै पीडितलाई पीडा र पीडकलाई उन्मुक्ति दिने खालको रहेको बताउँछिन् । त्यस्तो उजुरी प्रमाणित भए दोषीलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था ऐनले गरेको छ । व्यवस्थापकले आफ्नो दायित्व पूरा नगरेमा २५ हजारसम्म जरिवाना गराउन सकिने व्यवस्था भए पनि व्यवहारमा छैन । ‘पीडकलाई सरुवा गरिदिने र कारबाही सिफारिस गर्ने औपचारिकता मात्रै छ,’ ढुंगानाले भनिन्, ‘यो त अरू ठाउँ जाऊ फेरि त्यस्तै दुर्व्यवहार गर भनेर पठाएजस्तै हो नि ।’ उनले ऐन संशोधनको आवश्यकता देखेकी छन् ।
महिला तथा बालबालिका मन्त्रालयकी लैंगिक हिंसा निवारण सम्पर्क व्यक्ति ममता विष्टले कानुनमै अस्पष्टता देखिएकाले संशोधन गर्नुपर्ने माग राख्दै आएको बताइन् । ‘संशोधन गर्न कानुन मन्त्रालयमा सिफारिस पठाएका छौं,’ उनी भन्छिन्, ‘हेरेरसमेत हुने दुर्व्यवहारको प्रमाण छैन, यस्ता प्रमाण जुटाउन नसक्दा पीडितले न्याय पाउन कठिन छ ।’ राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईका अनुसार कार्यस्थलमा हुने यौनजन्य हिंसाको मुद्दा हेर्ने अधिकार आयोगलाई छैन । ‘सीडीओ कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले हामीले मुद्दा दर्ता गर्न मिल्दैन,’ उनी भन्छिन्, ‘तर, महिनामा एक/दुई मौखिक गुनासो बोकेर पीडित कर्मचारी आउनुहुन्छ, यस्तो बेला काउन्सिलिङ गरेर पठाएका छौं ।’ हिंसाबारे मुख खोले जागिर खोसिने, कार्यालयमा थप चुनौती भोग्नुपर्ने डरले उजुरी दिन नमान्ने गरेको उनको अनुभव छ ।
सहायक वन अधिकृत दीपा ओलीका अनुसार वनका कुल कर्मचारीमध्ये झन्डै ८ प्रतिशत मात्रै महिला छन् । ‘पुरुष कर्मचारीले हिंसा गरिरहेको भन्ने पनि उनीहरू थाहा पाउँदैनन्,’ उनले भनिन्, ‘महिला कर्मचारी त्रासमा काम गर्न बाध्य छन् । हामी सञ्जालमार्फत हिंसा नसहन र हुन नदिने अभियानमा लागेका छौं ।’

समाचार

अन्धविश्वासको भुंग्रोमा महिला र बालिका

- विद्या राई

(काठमाडौं)
रूपन्देहीको सैनामैना नगरपालिकाकी २२ वर्षीया सोनिया रेश्मीले झारफुक गरेर निको पार्ने बहानामा कक्षा ९ पढ्ने १४ वर्षीया सीता ज्ञवालीको चरम यातना दिएर ज्यान लिइन् । सीतालाई चार/पाँच दिनदेखि कान दुख्ने समस्या थियो । परिवारले स्थानीय मेडिकलमा जँचाइरहेका थिए । दुखाइ बढेपछि अभिभावकले माता भनिने सोनियाकहाँ पुर्‍याए । स्नातक पढ्दै गरेकी उनी झारफुक र
पूजापाठमा पनि लागेकी थिइन् । आफूमा दैवीशक्ति
भएको बताउँथिन् ।
सोनियाले सीतालाई झारफुक गरेर सन्चो बनाउँछु भन्दै भुइँमा घोप्टो पारेर शरीरमाथि बसेर घण्टी बजाउँदै कुटपिट गरिन् । बेहोस् हुने गरी टाउको र घाँटीमा खुट्टाले टेक्दै लछारपछार गरिन् । कपाल लुछ्ने, नाक र मुखमा पानी खन्याउने, अनुहारमा थुक्ने, खरानी खुवाइदिने गरिन् । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । चरम यातना खेपेकी सीताको झारफुक गर्न पुर्‍याएकै दिन मृत्यु भयो । इलाका प्रहरी कार्यालय सालझन्डीले माता भनिने सोनियालाई पक्राउ गर्‍यो । घटनाको २३ औं दिन (चैत १३) घटनाका प्रत्यक्षदर्शी १० र अन्त्येष्टिमा सहभागी ७ गरी १७ जना समातिए । जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाइएको रूपन्देही प्रहरीले जनाएको छ ।
उता, धामीको भर पर्दा कैलाली गोदावरीकी ९ महिनाकी सुत्केरी कल्पना विकको मृत्यु भयो । सुत्केरी गराउने मिति नजिकिँदै गर्दा फागुन ३ गते अचानक बोल्न नसक्ने, मुखबाट र्‍याल फाल्ने तथा जिब्रो मुखबाट बाहिर निकालेर टाउको हल्लाउने, काप्ने हुन थाल्यो । परिवारले ‘भूतप्रेत लागेको’ ठानेर धामीकहाँ लगे । स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि पुनः सेती प्रादेशिक अस्पताल पुर्‍याए । फोक्सो र रगतमा इन्फेक्सन भइसकेको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइए पनि मिर्गौला, कलेजो, फोक्सोले काम गर्न छाड्यो । १७ दिनसम्म सेती प्रादेशिक अस्पतालमा उपचार गराएपछि २२ वर्षीया कल्पनाको फागुन २१ मा मृत्यु भयो ।
‘चाँडो विवाहको असर तथा स्वास्थ्यसम्बन्धी ज्ञान र अभ्यास’ बारे हालसालै प्रकाशित जर्नलमा गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य केन्द्रमा लैजाने विषयमा परिवारले निकै ढिला निर्णय गर्छन् । पहिले धामीझाँक्रीकहाँ लैजाने, त्यहाँ निको नभए मात्रै स्वास्थ्य केन्द्र पुर्‍याउँदा रक्तस्रावका साथै विभिन्न रोग तथा संक्रमणको उच्च जोखिममा पुगिसकेका हुन्छन् । धामीझाँक्रीमा भर पर्ने सामाजिक परम्परागत हानिकारक अभ्यासले गर्दा कैलालीकी कल्पनाको झैं मातृ मृत्युले प्रश्रय पाइरहेको छ । २०७८ को जनगणनाअनुसार मातृ मृत्युदर १५१ जना प्रतिलाख छ ।
सरकारले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन नसक्दा र पालिकास्तरमा योग्यता पुगेका जनस्वास्थ्यकर्मी पर्याप्त नपुर्‍याउँदा यस्तो समस्या कायमै रहेको स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. मिङ्मार गेल्जे शेर्पा बताउँछन् । ‘गर्भवती, क्षयरोगी, कुष्ठरोगी, झाडापखाला, निमोनिया रोगीहरू अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने, अन्डा, दूध तथा सागसब्जी बिक्री गरेर चाउचाउ, कुरकुरे र भिटामिनको धूलो किनेर खाने अभ्यास ग्रामीणस्तरमा व्याप्त छ,’ उनी भन्छन्, ‘आज इन्टरनेटको युगमा समेत स्वास्थ्यसम्बन्धी सामान्य चेतना जनतासमक्ष पुर्‍याउन नसक्नुले उनीहरू उपचारका लागि धामीझाँक्रीमा विश्वास गर्न पुग्नु, अनाहकमा ज्यान गुमाउनुमा नेपालमा स्वास्थ्य निकायको ठूलो कमजोरी हो ।’
धामीले भूत भगाउने बहानामा निर्घात कुटपिट गर्दा बझाङको साइपाल गाउँपालिकाकी २७ वर्षीया प्रमा बोहराले दुवै कान सुन्न छाडेको १५ वर्ष भइसकेको छ । उनी १२ वर्षकी हुँदा एक दिन गाईबस्तु चराउन गएका बेला अचानक पेट दुख्न थाल्यो, बान्ता भयो । घर फर्कन नसक्ने भएपछि साथीले बोकेर ल्याए । उनका बाआमाले घरमा धामी बोलाएर झारफुक गराउन लगाए । भूत भगाउने भनेर धामीले कुटेर थिलथिलो भएकी उनलाई १०/१२ जना अरू धामीले पालैपालो रातभर कुटे, चिथोरे, टोके, पन्यूले डामे । भोलिपल्ट होसमा आउँदा उनका दुवै कानले श्रवणशक्ति गुमाइसकेका थिए । कानको उपचार गर्न उनका बुबाले सदरमुकाम चैनपुर ल्याए । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि आर्थिक अवस्थाका कारण सुविधा सम्पन्न अस्पतालमा उनको उपचार हुन सकेन ।
ग्रामीण भेगमा मात्रै होइन, सहरी क्षेत्रमा पनि बिरामीको उपचारमा धामीझाँक्रीको विश्वास राख्ने चलन छ । काठमाडौंमा मात्रै झन्डै दुई तिहाइ बिरामीले धामीको झारफुकमा विश्वास राख्ने गरेको ०७५ सालमा प्रकाशित एक जर्नलमा उल्लेख छ । काठमाडौं महानगरपालिकाको टुसालमा ७६ महिला र २० पुरुषसँग अन्तर्वार्ता गरिएको अध्ययनले धामीमा विश्वास राख्नेहरू सधैं आर्थिक रूपमा असक्षम पनि नहुने गरेको देखाएको छ । यस्ता अन्धविश्वासको अभ्यासविरुद्ध स्थानीयलाई व्यापक सचेतना गरी सुरक्षित र वैज्ञानिक स्वास्थ्य सेवामा प्रोत्साहन गर्नुपर्ने जर्नलले सिफारिस गरेको छ ।
धामीझाँक्री, जपतप, मन्त्र उपचारमा भर परेका कारण ज्यान गुमाउने, अपांगता हुनेहरूको यकिन तथ्यांक सरकारी निकायमा उपलब्ध छैन । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले दुई वर्षअघि धामीझाँक्रीमा हुने विश्वासजस्तै समाजमा अभ्यास गरिने हानिकारक प्रथासम्बन्धी प्रतिवेदन तयार पारेको थियो । लैंगिकता, उमेर, जातजाति, भाषा, धर्मलगायत आधारमा गरिने विभेदले महिला र बहिष्करणमा परेका समूहलाई मृत्युको जोखिममा पुर्‍याउने प्रतिवेदनले उजागर गरेको थियो । सुरक्षित र वैज्ञानिक स्वास्थ्य सुविधा नपाउने मात्रै होइन, उनीहरू आत्मसम्मानसहितको स्वतन्त्र जीवन जिउनबाट वञ्चित भएका छन् ।

समाचार

उपनिर्वाचन प्रचार १५ दिन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि प्रचारप्रसार गर्न पाइन्छ । मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाइन्छ ।
बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यो तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन् । बारा–२ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । चितवन २ मा २४ र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दिएका छन् । आयोगले उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सक्ने कार्यक्रम सार्वजनिक गरेको थियो । कसको विरुद्ध उजुरी पर्‍यो भन्ने यकिन विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर जाँचबुझ गरी बुधबार निर्णय दिनुपर्ने हुन्छ । कार्यालयले बुधबारै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेमा बिहीबारसम्म समय निर्धारण गरिएको छ । तीन क्षेत्रमा ३६ जना स्वतन्त्र उम्मेदवार छन् । बारामा २४ र चितवनमा १२ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिसम्म प्रचारप्रसार गर्न पाइने समय तोकेको छ ।
उपनिर्वाचनमा सत्तारूढ गठबन्धन विभाजित भएको छ । सरकारलाई समर्थन गरेको रास्वपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छ । माओवादीले भने तनहुँ र चितवनमा कांग्रेसका उम्मेदवारलाई र बारामा जसपाका उम्मेदवारलाई समर्थन गरेको छ । कांग्रेसले पनि बारामा उम्मेदवार नउठाई जसपालाई साथ दिएको छ ।
बारामा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्रप्रसाद कुशवाह, रास्वपाबाट रमेश खरेल र अन्य दलका उम्मेदवार छन् । चितवन–२ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायत र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्ले र अन्य दलबाट उम्मेदवारी परेको छ ।

Page 6
सम्पादकीय

सरकार, आफ्नो वेग बढाऊ


‘बिहानीले दिनको संकेत गर्छ’ भन्ने उक्ति हर अवस्थामा लागू हुने हो भने नेपालीका लागि आगामी दिनहरू पनि सुखद हुनेछैनन् । कारण, ‘मधुमास’ मानिने सुरुआती सय दिनमा यस सरकारले भन्नलायक केही काम गरेकै छैन । राजनीतिक नेतृत्व सत्ता सहयात्री दल फेरबदलको दाउपेचमा अलमलिँदा मुलुक र नागरिकको सम्मुनतिका मुद्दा कतै छुटेका छन् । कतिसम्म भने, सरकारले पुनः विश्वासको मत पाएको दुई साता भैसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । एमाले र रास्वपा सरकारबाट बाहिरिएपछि एक महिनासम्म करिब डेढ दर्जन मन्त्रालय सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल र सबैभन्दा ठूलो सत्तारूढ दल कांग्रेसको शैली हेर्दा लाग्छ— उनीहरूलाई यसमा कुनै आतुरी नै छैनÙ मानौं, सत्ता भनेको देश र समाज परिवर्तनका लागि साधन नभएर फगत राजनीतिक आकांक्षाको प्राप्ति, व्यवस्थापन र उत्सवको थलो मात्र हो ।
दुर्भाग्यपूर्ण भन्नुपर्छ— ठीक त्यस्तो समयमा सरकार उद्देश्यविहीनजस्तो भएको छ, जतिबेला मुलुकमा एकदमै प्रभावकारी मन्त्रिपरिषद्को खाँचो छ । अहिले नेपाली समाज जुन परिस्थिति र मनोदशाबाट गुज्रिरहेको छ, अर्थतन्त्र जसरी लयहीन छ, विश्व आर्थिक मन्दीका बाछिटाहरूले जसरी रुझाउँदै छ, यी सबै स्थितिसित जुध्न सरकार एकदमै स्पष्ट सुझबुझ, दृष्टि र लक्ष्यका साथ अघि बढ्न जरुरी छ । खुद सत्तारूढ दलकै नेताहरूले सार्वजनिक रूपमै भन्न थालिसकेका छन्— नेपाली नागरिकहरूमा अहिलेजति निराशा कहिल्यै देखिएको थिएन । अर्थतन्त्रका आन्तरिक सूचकांकदेखि देश छाड्ने विद्यार्थी र श्रमिकको ताँतीसम्मले पनि यसबारे धेरै कुरा भन्छन् । यो निराशामाझ नागरिकले आशाको नजर सोझ्याउने प्रमुख निकाय भनेकै सरकार हो, जसले उत्साहको सञ्चार गर्न सकेकै छैन ।
यसपालि ‘भाषण कम गर्छु’ भनेका प्रधानमन्त्री दाहाल हरेक दिन भाषण गर्नकै लागि दुई–तीनवटा कार्यक्रम भ्याउँछन्, जसमध्ये धेरैजसोमा उनी स्वयं नगई नहुने त्यस्तो जरुरी पनि केही देखिन्न । प्रस्टै छ— यो प्राथमिकताको अलमल होÙ अत्यावश्यक कार्यसूचीको अभाव हो । र हो— प्रधानमन्त्री दाहालमा प्रवृत्तिकै रूपमा हुर्किरहेको भनाइ र गराइबीचको अन्तर । कराँतेको प्रशिक्षण कार्यक्रम उद्घाटनदेखि विद्यालयको वार्षिकोत्सव र नयाँ भवन उद्घाटन र दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार दिनेजस्ता कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुन भ्याउनु भनेको यसैको द्योतक हो । यसरी सरकार लक्ष्यहीन बन्नुको मारमा संसद् पनि परेको छ । निर्वाचित भएको यत्तिका दिनसम्म पनि सदनले आफ्नो प्रभावकारिता प्रस्तुत गर्न सकेको छैन । यतिबेला अत्यावश्यक विधेयकहरूमाथि भ्याईनभ्याई र गरमागरम बहसमा जुट्नुपर्ने संसद्लाई पर्याप्त काम दिएर अघि बढाउन सरकार गम्भीर
भएकै देखिन्न ।
प्रधानमन्त्री दाहाल एवं सरकारलाई सधैं यसरी निस्फिक्री भैरहने छुट छैन । प्रधानमन्त्रीका रूपमा उनी सफल हुनु–नहुनुसित यतिबेला देशको भाग्य र भविष्य जोडिएको छ । त्यही भएर, जुनसुकै हालतमा पनि सरकारले आफ्नो उपस्थितिको आभास नागरिकलाई दिलाउनुपर्छ । अर्थतन्त्रदेखि सुशासनसम्ममा देखिएका भ्वाङहरू टाल्नुपर्छ । खासगरी यतिबेला अर्थतन्त्रमा तत्कालीन समस्याहरू समाधानका अतिरिक्त दीर्घकालीन संरचनात्मक सुधार नै गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि प्रधानमन्त्री दाहाल जत्तिकै नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतको पनि सकारात्मक भूमिका अपेक्षित छ । राजस्वले चालु खर्च धान्नसम्म सकस भैरहेको यो बेला अर्थतन्त्रलाई लयमा ल्याउन सुविचारित पहलहरूको आवश्यकता छ । परन्तु, औपचारिक रूपमा अर्थशास्त्रमै उच्च शिक्षा लिएका भए पनि अर्थमन्त्री महतको नामले सरोकारवाला र नागरिकमा भरोसा जगाउन सकेको छैन । त्यसैले पनि परिणाममूलक काम गरेर देखाउनुपर्ने आफ्नो चुनौतीलाई अर्थमन्त्रीले पार लगाउन सक्नुपर्छ, जसमा प्रधानमन्त्रीको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ ।
त्यसैले, खोक्रो प्रचारमुखीभन्दा पनि वास्तविक सुधारका काममा प्रधामन्त्री लगायत सिंगो मन्त्रिपरिषद् केन्द्रित हुनुपर्छ । दैनिक प्रशासनिक कामका लागि पनि कर्मचारीलाई निर्देशन दिइरहने शैलीले कहीँ पुगिँदैन, काम नहुनुका कारण र तिनको हल खोज्नेगरी प्रणाली विकासमै जोड दिइनुपर्छ । राज्य सञ्चालनका महत्त्वपूर्ण मामिलाहरूमा सही निर्णय लिनका लागि दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै व्यापक सुधार गर्नुपर्छÙ यसलाई नरुचाइएका कर्मचारी र नोकरी दिने हेतुले मात्र नियुक्त सल्लाहकारहरू बस्ने थलोका रूपमा नभएर व्यवहारतः पनि देश हाँक्ने सर्वोच्च सरकारी मुकाममा परिणत गर्नुपर्छ । र यो सब, शक्ति केन्द्रीकृतका दृष्टिकोणबाट नभएर लोकतान्त्रिक र परिणाममुखी कार्यहरूका निम्ति हुनुपर्छ ।
अतः, यतिबेला सिंगो सरकार मसिनोसित मुलुकका आवश्यकताहरू पहिचान गरी अघि बढ्न जरुरी छ । दैनन्दिन नियमित कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै सरकारले दुई महिनापछि ल्याउनुपर्ने बजेटलाई वास्तविक र नागरिक आकांक्षाको प्रतिविम्बका रूपमा विकसित गर्न आजैबाट पर्याप्त गृहकार्य गर्नुपर्छ । प्रधानमन्त्रीले ‘यस पटक देशले सम्झने गरी काम गर्छु’ भनेर मात्र पुग्दैन, इतिहासले सम्झन साँच्चिकै काम गर्नु पनि पर्छ । अहिलेसम्म नागरिकहरूले सरकारलाई शंकाको सुविधा दिएका छन्Ù सत्ता सहयात्री दल फेरबदलको अप्ठ्यारो बुझिदिएजस्तो गरेका छन्Ù केही दिनमा सरकारले लय समात्ला कि भनेर धैर्य गरेका छन् । प्रधानमन्त्री प्रस्ट हुनैपर्छ— सरकार यसै गरी राजनीतिक दाउपेचमै कतै हराइरहने हो भने जनताको धैर्यको बाँध फुट्न सक्छ, जसले सरकारको कुर्सीको किलाकाँटै बगाउन सक्छ । कामना गरौं, त्यस्तो दिन नआओस्, सरकारले समय छँदै आफ्नो वेग बढाओस् । र, मुलुकको समुन्नति, सुशासन तथा सार्वजनिक सेवा प्रवाह र कूटनीतिजस्ता कुनै पनि मामिलामा सरकार अनुत्तीर्ण नहोस् । बिहानीजस्तो भए पनि सरकारले आफ्नो उपस्थिति तथा गति बढाएर बाँकी दिनलाई रमाइलो–घमाइलो बनाओस् ।

सम्पादकलाई चिठी

डायलसिस उपकरण प्रयोगविहीन

'डायलसिस गर्न महिनौं कुर्दै’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

बिरामीले एक महिनादेखि डायलसिसका लागि समय पाइराखेका छैनन् । नेताहरूलाई भने सित्तैमा विदेशमा उपचार ! नेतालाई लोकतन्त्र जनतालाई भने ‘ठोकतन्त्र’ ।
– उर्गेन कँडेल

दूरदर्शी र इमानदार नेताको अभावमा । तीनै तहको शासन व्यवस्थालाई धिक्कार ! अनुभवी र योग्य प्राविधिकको अभावमा उपकरणहरू बेकार भइरहेका छन् । कहिलेसम्म यस्तो दुर्दशा ?
– जीबी चाम्लिङ

जनशक्तिलाई तालिम नदिने अनि कमिसनको चक्करमा धेरै उपकरण किन्ने । यसरी उपकरण अलपत्र पार्ने प्रमुख र जनशक्ति तयार नगरी उपकरण किन्ने कर्मचारीलाई कारबाही हुनुपर्‍यो ।
– प्रदीप पन्थी

उपकरण ल्याएर मात्र हुन्छ ? त्यसलाई सञ्चालन गर्ने प्राविधिकको पद पूर्ति गर्नु पर्दैन ?
– सुजितकुमार चौधरी

नागरिकको जीवनसँग जोडिएको यति महत्त्वपूर्ण सबालमा पनि यो स्तरको लापरवाही मान्य छैन ।
– मीना अचार्य

देशमा जता हेर्‍यो उतै विकृति, कसैलाई केही मतलब छैन । जिम्मेवारीमा बसेका सबैलाई कमाउनैपरेको छ ।
– तीर्थ विष्ट

सरकारले के हेरेर बसेको छ थाहा छैन । देशमा चरम बेथिति छ । सरकारी लापरवाही उत्कर्षमा छ । जनता निराश छन् ।
– एलबी

सम्पादकलाई चिठी

सुराकी खर्च खारेज स्वागतयोग्य

- कान्तिपुर संवाददाता


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सक्रियतामा तीन दशकदेखिको सुराकी खर्च खारेज सम्बन्धी सरकारको निर्णय स्वागतयोग्य मान्नुपर्छ । सन्दर्भ खुलाउन नपर्ने र लेखापरीक्षणको दायराभित्र पनि नपर्ने अनि कुवाबाट पानी झिकेजसरी जनताले तिरेको राजस्वबाट गृहमन्त्री र सचिवले मनोमानी लाखौं रकम नगद बुझिलिने कुप्रथा लोकतन्त्रमा लज्जाकै विषय हो । त्यसरी बुझिलिएको रकम आफूलाई मन्त्री बनाउने वा सचिव बनाउन जोड–बल गर्ने उच्च राजनीतिक संयन्त्रको इसारामा भागबन्डा हुन्थ्यो या राज्यको आवश्यक काममा केही रकम खर्च पनि हुन्थ्यो भन्ने कुरा जनताको नजरमा सधैं शंकाकै घेराभित्र पर्ने कुरा हो । जे होस्, सरकारको यस कदमबाट दृढसंकल्प भएका राजनीतिक व्यक्तित्व ठाउँमा पुगे भने राम्रा कामहरूको सुरुआत गर्न बेर नलाग्ने रहेछ भन्ने कुराको एउटा राम्रो नजिर स्थापना हुन गएको कुरालाई मान्नैपर्छ ।
– महेशप्रसाद ढुंगाना, नयाँबानेश्वर, काठमाडौं

सम्पादकलाई चिठी

नासुको चमत्कार !


पूर्वनायब सुब्बा रघुनाथ घिमिरे अहिले चर्चाको पात्र बनेका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदा अनधिकृत रूपमा करको दरमा हेरफेर गरेको अभियोगमा अहिले अख्तियारमा मुद्दा दायर भएको खबर आएको छ । उनले सरकारी सेवा अवधिमा अवैध रूपमा कमाएको सम्पत्तिको हिसाब गर्दा करिब ४० देखि ५० करोडको हाराहारीमा आउने देखिन्छ । सरकारी सेवामा नियुक्ति लिँदा खरिदार पदबाट सेवा सुरु गरेका घिमिरेको जीवनको उद्देश्य जागिर खाने, पढ्ने, परिवारको गर्जो टार्ने नै थियो । प्रायः नेपालीको सोच पनि यही हुने गर्छ । तर पछि उनले जीवनमा सोच्दै नसोचेको चित्रहरू कसरी कोरे त ! यो रहस्यकै विषय छ ! नासुको जागिर खाएर घिमिरेको जीवनमा यस्तो कायापलट कसरी भयो ? अर्कातिर सहसचिव पदबाट अवकाश पाउँदा पनि सहरमा एउटा कोठाकै बास हुन्छ, यसको अन्तर्य पत्ता लगाउने कसले त ? घिमिरे सुरुदेखि नै घरानियाँ अर्थात् त्यस्तै कुकृत्य गर्ने नेताहरूको पछि लागे । स्वधर्म त्यागे, लोभलालचमा फसे । नेपालका हरेक निकाय भ्रष्टाचारको जालोमा जेलिएका छन् तर यसको निगरानी कसले गर्ने ? ताकि घिमिरेजस्ता पात्रहरू उम्किन नपाऊन् । सरकारको नेतृत्व गर्नेहरू खाली भाषणमै समय खेर फालिरहेका छन्, आर्थिक मन्दीले जनताको दैनन्दिनी दुःखद अवस्थामा छ, समाजमा अराजकताले विकृति मौलाएका छन्, राजनीतिक क्षेत्र सुल्झिने छाँटकाँट छैन । आर्थिक क्षेत्रमा त झन् तहसनहस छ । उता सत्तासीन दलका नेता भने सुकिलो पोसाक तयारी गरी पद र प्रतिष्ठाका लागि मौसमी पदभार ग्रहणको प्रतीक्षामा छन् । अनि जनताले अझै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता कहिले पाउने ?
– खिमराज गिरी, काठमाडौं

दृष्टिकोण

यथास्थितिको अष्टभुज नेल

- सीके लाल

 

सत्तारूढ भएको १०० दिनलाई कार्यसम्पादनको दशा र दिशाको मानदण्ड ठहर्‍याउने चलन संसदीय व्यवस्था अंगीकार गरेका देशहरूमा व्यापक छ । परिस्थितिको यथार्थपरक विश्लेषण, व्यावहारिक संश्लेषण, कार्यमूलक लक्ष्य निर्धारण एवं संरचना परिचालनको तयारीका लागि यथेष्ट समय चाहिने नै हो । सत्तासीनहरूले विपक्षी एवं आलोचकलाई विश्वसनीय विवेचनाको बमबारी सुरु गर्नुभन्दा पहिले नयाँ सरकारले आफ्नो कार्यकालको कम्तीमा १०० दिनसम्म पूरा नगरेसम्म पर्खिन भन्ने गर्छन् । प्रतिपक्षले पनि सामान्यतः सरकारलाई त्यस अवधिभित्र शंकाको लाभ दिन कञ्जुस्याइँ गर्दैन । उपलब्धि देखिन समय लागे पनि कार्यदिशा उपयुक्त छ भने सामान्यजनमा समेत उत्साहको सञ्चार हुन थाल्दछ । तोकिएको तयारी अवधि सकिनासाथ सबभन्दा पहिले पत्रकारहरू सरकारको मूल्यांकन गर्न हतारिन्छन् । त्यसपछि कार्य सम्पादन नाप्ने आ–आफ्ना
फित्ता समातेर मैदानमा उत्रिने पालो राजनीतिक विश्लेषक एवं समसामयिक टिप्पणीकारको आउँछ । प्रतिद्वन्द्वी खेलाडी रहेका प्रतिपक्षका राजनीतिकर्मी सबभन्दा पछि अखडामा उत्रिन्छन् । त्यतिबेलासम्म प्रतिरक्षाको खेलमा सत्तासीनहरू पोख्त भइसकेका हुन्छन् । कहिलेकाहीँ त संविधानले परिकल्पना गरेका खेलका सञ्चालक, नियन्त्रक एवं निर्णायकजस्ता स्थायी संरचनाहरू नै व्यवस्थापक एवं रेफरी नभएर सत्तापक्षका खेलाडीमा रूपान्तरित भइसकेका हुन्छन् ।
सत्तालाई ‘म्युजिकल चेयर’ भनिने मनोरञ्जक खेल बनाएका नेपाली राजनीतिका बासी अनुहारहरूको १००–दिने मूल्यांकन गर्नु कर्मकाण्डभन्दा बढी केही होइन । सोखिन तिर्थाटनको निरर्थकता झल्काउनका लागि मैथिलीमा एउटा उखान छ— ‘देखले जनकपुर, चिहनले गोसाइँ’ ! नचिनिएका ‘गोसाइँ’ सिंहदरबारमा पुग्न असम्भव प्रायः भइसकेको अवस्थामा जुन सरकार आए पनि सामान्यजनको जीवनमा तात्त्विक भिन्नता ल्याउन सक्ने तिनको क्षमतामा सायद राजनीतिकर्मीहरूलाई आफैं पनि अब विश्वास लाग्न छोडी सकेको हुनुपर्दछ । एक–अर्कालाई शंकालु दृष्टिले हेर्ने विभाजित समाज, वर्णसंकर संसदीय व्यवस्थाको गतिशील राजनीति, आफन्ती पुँजीवाद हावी रहेको अर्थतन्त्र, स्थायी सत्ताको पकडमा रहेको राज्यसंयन्त्र एवं भूराजनीतिक शक्तिहरूलाई कहिले रिझाएर त कहिले लडाएर शासन गर्ने संस्कारमा हुर्किएका राजनीतिकर्मीहरू क्रियाशील रहने देशमा स्थिर अनिश्चितता एक मात्र निश्चितता हुनु अस्वाभाविक होइन । सरल होस् वा बक्र, अग्रगामी होस् वा पश्चगामी अथवा सपाट होस् वा उबडखाबड≤ अर्थराजनीतिको रेखीय प्रक्षेपको आवधिक मूल्यांकनले सामूहिक गन्तव्यको मार्गचित्र बनाउन वा सच्याउन मद्दत गर्न सक्दछ । ढिलोछिटो फर्किएर प्रस्थानविन्दुमै आइपुग्ने हो भने दिशानिर्देश वा कार्यपद्धतिका बारेमा बहस गर्नु फगत बुद्धिविलासभन्दा बढी केही ठहरिँदैन भने अन्तरदृष्टिलाई पुस्तकाकारमा नेपालका मार्गदर्शक मानवशास्त्रीहरूमध्ये अग्रणी मानिने डोरबहादुर विष्टले आफ्नो ‘फेटलिज्म एन्ड डेभलपमेन्ट ः नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन’ कृतिमार्फत सन् १९९१ तिरै औंल्याएका थिए ।
धारणागत रूपमा विष्टको ‘बाहुनवाद, भाग्यवाद, आफ्नो मान्छे एवं चाकरी’ भनिने चौकोर पर्खालले विकासको गाडीलाई अगाडि बढ्नबाट बलियोसँग छेकेको व्याख्या सर्वथा नयाँ भने होइन । जर्मन समाजशास्त्री, अर्थशास्त्री एवं राजनीतिज्ञ म्याक्स वेबरले पश्चिमा समाजको तीव्र रूपान्तरणका पछाडि त्यहाँको संस्कृतिमा व्याप्त ‘कर्मको आचरण’ जिम्मेवार रहेको तर्क ‘द प्रोटेस्टेन्ट एथिक एन्ड द स्पिरिट अफ क्यापिटलिज्म’ पुस्तकमार्फत सन् १९०५ तिर नै गरेका थिए । बाहुनवाद पनि भन्न सकिने संस्कृतीकरणको प्रभावले गर्दा ‘आधुनिक भारतको सामाजिक परिवर्तन’ अवरुद्ध भएको तर्क भारतीय मानवशास्त्री एमएन श्रीनिवासले सन् १९५० को दशकदेखि नै गर्न थालिसकेका थिए । सन् १९७१ तिर पुस्तकाकारमा प्रकाशित उनको ‘संस्कृतीकरण’ अवधारणाको सार के हो भने भौतिक सफलताको निश्चित मुकाम हासिल गरि सकेपछि ब्राह्मण एवं दलितबाहेक अरू सबै तथाकथित ‘तल्लो जात, जनजाति वा अन्य समूह’ ले सुस्तरी आफ्नो चालचलन, संस्कार, विचारधारा र जीवनशैलीलाई समाजमा ‘उच्च’ ठहर्‍याइएका द्विज प्रवर्गको प्रतिच्छायामा रूपान्तरित गर्दै लैजान्छन् । त्यसले गर्दा ब्राह्मणको उच्चताले थप वैधानिकता पाउँछ । दलितमा अझ बढी हीनभाव फैलिन्छ ।
आफ्नोपन (आथन्टिसिटी) गुमाएका अन्य समूहहरूको सम्पूर्ण ऊर्जा वर्चस्वशाली समुदायको प्रतिकृति हुनमै खर्च हुन थाल्दछ । अनि पश्चिमीकरण वा आधुनिकीकरणजस्ता प्रक्रियाहरूले गति लिन सक्दैन । भारतमा महात्मा गान्धीले संस्कृतीकरण प्रक्रियालाई उपनिवेशवादका विरुद्ध हतियारका रूपमा प्रयोग गरेका थिए भने जवाहरलाल नेहरू, राममनोहर लोहिया एवं भीमराव अम्बेडकरजस्ता चिन्तक एवं अभियन्ताले राजनीतिक आधुनिकीकरणमार्फत ‘द्विज वर्चस्व’ ध्वस्त गर्ने अभियान नै चलाएका थिए । नेपालमा भने विष्टका व्याख्याहरूलाई पढ्न र अर्थ्याउनसमेत रुचाइँदैन । उनका अवधारणाहरूले यथास्थितिको फलामे जकडलाई बुझ्नसम्म भने सघाउँछ । पुँजीवाद, समाजवाद, उदारवाद, मार्क्सवाद वा प्रयोगवादमध्ये कुन हथौडाले अर्थराजनीतिको नेल र हतकडी भत्काउने भने बहस त्यसपछि मात्र उपलब्धिमूलक ठहरिनेछ । रथ अगाडि र घोडा पछाडि राखेर दौडिने गोलचक्करबाट मुक्त हुन सन् १९९० तिर ‘इतिहासको अन्त’ भएको घोषणा भएपछि मृतप्रायः बन्न पुगेको सामाजिक छलफलहरूलाई पुनर्जागृत गर्नु जरुरी छ ।

दिव्य व्यवस्था
पहिलो पटक सन् १९७० तिर मात्रै अंग्रेजीमा अनूदित फ्रान्सेली मानवशास्त्री लुई ड्युमोंको ‘होमो हाइरार्किकस’ श्रेणीबद्ध समाज पर्गेल्ने यस्तो एउटा कृति हो, जसको प्रशंसा वा आलोचना जति नगरे पनि हुन्छ, तर बेवास्ता गर्न भने सकिँदैन । जन्मले गर्दा नै कुनै व्यक्ति मात्र नभएर सिङ्गो वर्ण वा जातीय समूह नै ठूलो, सानो वा अस्पृश्यसमेत ठहर्‍याइने व्यवस्था रंगभेदभन्दा पनि दिगो देखिनुका पछाडि त्यसलाई दिव्य व्यवस्था (डिभाइन आर्डर) मानिएकाले गर्दा हुनुपर्दछ । ब्राह्मणलाई मात्र वेद र पुराणको प्रामाणिक व्याख्याता हुन सक्ने अधिकार, क्षत्रियको शस्त्र क्षमता, वैश्यको कर्मप्रधानता एवं शूद्रको निस्सहाय भावबाट क्रमशः बाहुनवाद, आफन्तवाद, चाकरी एवं भाग्यवादजस्ता मनोवृत्तिहरू जन्मिएको हुनुपर्दछ । एक सृष्टिकर्ता, एक मात्र पवित्र पुस्तक एवं एकल ईश्वरीय मसिहा मान्ने धर्ममा अनुयायीहरूमा समानता भाव विकास हुन अपेक्षाकृत सहज हुन्छ । सोपानतन्त्रलाई वैदिक वैधानिकता प्रदान गरिसकेपछि भौतिक सम्बन्धहरू पनि श्रेणीबद्ध एवं पदक्रमानुसार निर्धारण हुने रहेछ । जातिवाद, नारीद्वेष, अन्धश्रद्धा एवं अस्पृश्यताबेगरको ‘ब्राह्मण धर्म’ सम्भव नहुने देखेर बौद्ध, जैन एवं सिखजस्ता समानतावादी पन्थहरू प्रचलनमा आएका हुन् । सनातन धर्मले भने यथास्थितिलाई बदल्नुको साटो स्वीकार गर्न सिकाउँछ, त्यसैले यो दिगो ठहरिएको छ ।
वर्ण व्यवस्थामा दोस्रो तहमा राखिएका भए तापनि क्षत्रियहरूलाई ‘गो ब्राह्मण प्रतिपालक’ रहने सर्तमा शासन गर्ने अधिकार प्राप्त छ । शासन भय, प्रलोभन एवं साखको मिश्रणद्वारा मात्र सञ्चालन गर्न सकिन्छ । हिन्दी फिल्मको भाषामा ‘भौकाल’ भनिने व्यापक आतंक तुलसीकृत रामायणको ‘बोले राम सकोप तब, भय बिनु होइ न प्रीति’ भनिने स्वयं समुद्रलाई दिइएको चेतावनीबाट अभिप्रेरित हुनुपर्दछ । स्वाभाविक हो, जो अरूलाई भयभीत तुल्याउँछ, ऊ स्वयं पनि भयभीत भएरै बाँच्न अभिशप्त हुन्छ । दैविकबाहेकका अरू सबै शासनको वैधानिकताका प्रक्रियाहरू अस्थायी प्रकृतिका हुन्छन् । त्यस्तो अवस्थामा पत्याउन सकिने भनेकै नजिकका आफन्तहरू हुन् । नातावाद, कृपावाद एवं भातभान्छाका सहयोगी (किचेन कैब्नेट) बाट निसृत संरक्षणवादले सक्षमतन्त्र (मेरिटाक्रसी) विकसित नै हुन दिँदैन । अपेक्षाकृत अक्षमहरूको जमातको शक्तिमा रहेको व्यक्तिसँगको सामीप्य पूर्ण वफादारीमा आधारित रहने हुँदा सम्भ्रान्त परिसंचरण (सर्क्यलेसन अफ एलिट) आन्दोलन वा क्रान्तिबाट नभएर विश्वासघात, कपट वा षड्यन्त्रहरूमार्फत मात्र हुने गर्दछ । अन्ततः स्थायी सत्ता केही नव–प्रवेशीहरूको सहवरण गरेर नवीकृत वैधानिकताका साथ पुनः क्रियाशील हुन्छ ।
वर्ण व्यवस्थाभित्रका वैश्यवाद एवं चाकरी एक–अर्कासँग जोडिएका अवधारणाहरू हुन् । सबभन्दा ठूलो उद्यम धर्मकर्म तथा कर्मकाण्ड र सबभन्दा आकर्षक व्यापार कर व्यवस्थापन एवं राज्य सञ्चालन हुने भएपछि अनुसन्धान, अन्वेषण, उत्पादन वृद्धि र व्यापार विस्तारमा थप लगानी गर्ने प्रोत्साहन (इन्सेन्टिभ) बाँकी रहँदैन । निष्काम कर्मको अर्थ निगाहाको आसमा गरिने नित्य दर्शन, आफ्नो कर्तव्य निर्वाह गर्ने दायित्वको आशय व्यक्ति पूजा तथा कर्मफललाई पारिश्रमिक वा समुचित लाभको साटो पारितोषिक भनेर मानिने समाजमा निष्पक्ष प्रतिस्पर्धामा आधारित स्वतन्त्र बजारको अवधारणा टिक्नै सक्दैन । पुँजीपतिहरू सरकारी हस्तक्षेप निम्त्याउन सत्तासीनलाई गुहार्ने, व्यवसायीहरू गुणस्तर अनुगमनको विरोधमा हडताल गर्ने र व्यापारीहरू खुल्लमखुला सिन्डिकेट र कार्टेल बनाएर प्रतिस्पर्धाविरोधी मूल्य संयोजन (प्राइस फिक्सिङ) जस्तो तिकडमलाई सामान्य बनाउने संसारका थोरै ‘समाजवाद–उन्मुख’ देशहरूको सूचीमा नेपाल पनि पर्दछ । राजनीतिमा मार्क्सवादी, लेनिनवादी एवं माओवादी भनिनेहरूको बोलवाला छ, शिक्षा एवं स्वास्थ्यजस्ता नागरिकका आधारभूत अधिकारका क्षेत्रहरू सुस्तरी नाफा क्षेत्रको नियन्त्रणमा गइरहेका छन् ।
तथाकथित शूद्र त्यसपछि ‘आफ्नो त कर्मै यस्तो !’ भनेर सुस्केरा हाल्न बाध्य हुन्छन् । विकल्पको चिन्तन गर्न सक्ने ब्राह्मणलाई शक्तिको स्थापित सोपानतन्त्रमा कुनै परिवर्तन चाहिएको छैन । आन्दोलनको मोर्चामा अग्रसर हुन सक्ने ‘क्षत्रिय गुण’ भएका अगुवाहरू सत्तासँग जोडिने वा सहवरण हुने लालसामा जतिसुकै लामो प्रतीक्षा गर्न तयार छन् । वैश्य गुणको मापक वस्तु–विनिमय, सेवाप्रदायकको भूमिका, मूल्य अभिवृद्धि सर्जक वा समृद्धिका साधनहरूको पहिचान र निर्माणभन्दा पनि सत्तासँग निकटता हुन गएको छ । स्वाभाविक हो, शूद्र भनेर अपहेलित बहुसंख्यक समुदायले सवर्ण संरचनाको बोझ भजन र कीर्तनको भरमा बोकिरहेका छन् । यस जन्ममा चुपचाप सबै उत्पीडन सहने हो भने अर्को जन्ममा वर्ण परिवर्तन हुने हो कि भन्ने झिनो आसले होला, छिमेकी भारतमा तथाकथित ‘अति पिछडा’ सँगसँगै केही तिरस्कृत दलितहरूसमेत हिन्दुत्वको विध्वंसक राजनीतिप्रति आकर्षित हुन थालेका छन् । हरेक आन्दोलनको अग्रमोर्चामा शूद्र भनिएकाहरू हुन्छन् । न्यूनतम सफलताको लाभ पनि क्रान्तिकारी अग्रपंक्ति (रेभुलसनरी भैनगार्ड) रहेको नाउँमा यथास्थितिवादी ‘जनैजाति’ भन्न सकिने राजनीतिकर्मीहरूले उठाउँछन् । शूद्र एवं दलित जमात देशभित्र बस्नै नसक्ने अवस्थामा पुगेर अरब र काला पहाड नाप्न अभिशप्त छ । तिनको विप्रेषण ‘कालो कमाइ’ भएकाहरूका लागि विभिन्न वैधानिक र अवैधानिक प्रक्रियामार्फत पुँजी पालायनको स्रोत बन्न पुगेको छ । यस प्रकारको ‘दिव्य व्यवस्था’ का त्रासदीहरू औंल्याउनेलाई पञ्चायतकालमा ‘अराष्ट्रिय तत्त्व’ भन्ने गरिन्थ्यो, आजभोलि ‘विदेशी शक्तिका मतियार’ एवं ‘डलरवादी’ जस्ता अभिव्यक्तिहरू चलनचल्तीमा छन् ।

सामूहिक आत्ममुग्धता
मानवशास्त्री भएकाले होला, डोरबहादुर विष्टले सामाजिक संस्कृतिको भन्डोफोर गरेका भए पनि नेपालको राजनीतिक संस्कृतिका सडन्ते अवयवहरूबारे खासै चर्चा गरेका छैनन् । संस्कृतिलाई बाहुनवादले जकडिएर राखेजस्तै राष्ट्रवादले नेपाली राजनीतिलाई सन् १७७५ तिर राजा पृथ्वीनारायणले बसालेको ‘थरघर रीतिथिति’ एवं ‘बाहिरिया त्रास’ बाट निस्किन दिएको छैन । मातृभूमिभन्दा पितृभूमि एवं कर्मभूमिभन्दा देवभूमिलाई महत्त्व दिने राष्ट्रवादले ‘हामी’ र ‘अरू’ भावनालाई भड्काएर देशको एकता र अखण्डतालाई कालान्तरमा क्षति पुर्‍याउँछ । देशाहंकार, अन्धराष्ट्रवाद एवं अन्यघृणाजस्ता नकारात्मक भावलाई रक्षात्मक ऊर्जाका रूपमा अर्थ्याउने चलन व्यापक हुँदै गएपछि राष्ट्रवाद क्रमिक तवरले खोक्रो दम्भ, नस्लीयता, सैन्यवाद र परित्राताको खोजी गर्दागर्दै अन्ततः फासीवादको व्यापक स्वीकार्यता स्थापित गरेर ‘समाप्त’ हुन्छ । राष्ट्रवादको सबभन्दा डरलाग्दो पक्ष के हो भने यसका पक्षधरहरू पत्तै नपाई धूर्त परिचालकका गोटीमा रूपान्तरित भई सक्छन् । पूर्वाग्रहहरू सहज ज्ञान भएर स्थापित भएपछि फगत प्रश्नचिह्न पनि देशद्रोहको प्रतीक बन्न पुग्दछ । त्यसपछिको यात्रा वृत्ताकार भएर अल्झिरहनु अस्वाभाविक होइन । आखिर मानव सभ्यताले गरेको हरेक प्रगति स्थापित ज्ञान, मूल्य एवं मान्यतामाथि प्रश्न उठाएरै सुरु भएको हो ।
राष्ट्रवादबाट उत्पन्न अहंवादलाई राजनीतिक संस्कृतिको दोस्रो विसंगतिका रूपमा औंल्याउन सकिन्छ । संसारका ५० सबभन्दा गरिब देशहरूको सूचीमा नेपाल पनि पर्दछ । नेपाली राहदानी अन्तर्राष्ट्रिय स्वीकार्यताको मापदण्डमा उत्तर कोरिया र सोमालियासँग दाँजिन्छ । गोर्खाली वीरताका गाथाहरू अब बेलायतमा बसोबास गर्न पाउने एवं सम्मानजनक निवृत्तिभरण पाउनुपर्ने दाबीमा समेटिएको छ । घरखेत बेचेर अस्ट्रेलिया एवं मिटरब्याजीसँग ऋण लिएर अरब र मलेसिया पुगेकाहरूको विप्रेषणले देश धानिएको छ । आधाउधी सगरमाथा, सिद्धार्थको जन्मदेखि बुद्धको परिनिर्वाणसम्मका तीर्थस्थलहरूमध्ये एकतिहाइ गन्तव्य, जगत् जननी जानकीको माइती एवं एक्लो पशुपतिनाथ विराजित भूमि भएकाले गौरव गर्ने समाजले अब आफैंलाई पुग्ने अन्नसमेत उब्जाउन सकिरहेको छैन । देशभक्तिले आफ्ना कमीकमजोरीहरूलाई स्वीकार गर्नबाट रोक्न सक्दछ । भक्तका लागि आराध्य खोटमुक्त हुने नै भयो । देशप्रेम पनि प्रकारान्तरले यथास्थितिका अगाडि समर्पण नै हो । देशहितको भावले भने निरन्तर अन्तर्परीक्षण (इन्ट्रोस्पेक्सन) तथा नियमित दिशा एवं गति संशोधनको अनिवार्यता दर्साएर जनहितैषी जमातलाई जागृत रहन घचघचाइरहन्छ ।
राजनीतिक संस्कृतिमा चाकरी प्रथाको पर्याय भूराजनीतिक शक्तिहरूमध्ये जो हावी छ, क्षणिक लाभका लागि त्यसका पछाडि लामबद्ध भएर उभिनु हो । सन् १९५१ सम्म नेपालीको रगत र पसिना बगाएर बेलायती साम्राज्यको सेवा गरेको मेवा सीमित परिवारले खाए, समग्र देश भने अशिक्षा, अविकास एवं पछौटेपनको साङ्लोमा
बेरिएर रहन बाध्य भयो । त्यसपछि सन् १९६० सम्म अमेरिका र भारतको संयुक्त प्रभुत्व, सन् १९७३ देखि सन् १९९० सम्म अमेरिका र चीनको संयुक्त वर्चस्व एवं सन् २००६ पछि चीनको प्रमुखताले नेपाली राजनीतिमा निर्णायक तत्त्वको भूमिका निर्वाह गर्ने गरेको कुरा सतहमा शक्तिशाली देखिने व्यक्तिहरूले नै स्वीकार गर्दै आएका छन् । भूगोलबाट उम्किन सकिँदैन र इतिहासलाई जति पटक संशोधन गरे पनि स्मृतिलाई संशोधन गर्न सकिँदैन । भूराजनीतिक शक्ति संघर्षले ध्वस्त बनाएका देशहरूको सूची लामो छ । त्यसबाट जोगिने सबभन्दा सहज बाटो राजनीतिकर्मीहरूले आफ्ना महत्त्वाकांक्षाहरूलाई नियन्त्रणमा राख्नु नै हो । जस्तोसुकै दक्ष खेलाडीले पनि गोटी नचलाई खेल खेल्न नसक्ने कुरा त स्पष्ट छ ।
पटकपटक धोका खाएर पनि नचेत्ने प्रवृत्तिलाई राजनीतिक संस्कृतिको शूद्र मनोवृत्ति भन्न सकिन्छ । नेपाली कांग्रेससँग मोहभंग भइसकेको भए तापनि नयाँ दिल्लीसँग निश्चित दूरी कायम नगरी मधेशको राजनीति कतै पुग्दैन भने कुरा ठम्याउन नसकेकाले हिन्दुत्वको राजनीतिले जनकपुरमा समेत स्वीकार्यता पाउन थालेको छ । काठमाडौंभन्दा पूर्वका जनजातिलाई मार्क्सवादी–लेनिनवादी भनिनेहरूले एवं गण्डक क्षेत्रभन्दा पश्चिमका आदिवासीलाई माओवादीहरूले परिचालित गरेर अलपत्र छाडिदिए । मुक्तिका लागि पूर्वकाले पश्चिम एवं पश्चिमतिरकाले उत्तरतिर आसलाग्दो नजरले हेर्न छाडेका छैनन् । दलितका लागि बोलिदिनेहरू थाक्न थालेका छन्, तिनको आफ्नै स्वर मुखर हुने प्रक्रियाले भने बल्ल गति लिन थालेको देखिँदै छ । सकारात्मक परिवर्तन भने आफ्नै प्रयत्नले मात्र सम्भव छ । हतकडी र नेल छँदै छैन भन्ने तर्क गरिरहेसम्म मुक्ति सम्भव हुने कुरा आउँदैन । बहु–उद्धृत भए पनि डोरबहादुर विष्ट कम ‘पढिने’ चिन्तकहरूमध्ये पर्दछन् । विक्रमाब्दको २०८० साल नव–चिन्तनको अवधि पनि ठहरियोस्, सबैलाई शुभकामना ।

 

Page 7
दृष्टिकोण

नेपाली सेना : संस्कृति, संरचना र आकार

- गौरवशमशेर जबरा

 

नेपाली सेना एउटा संस्थाको रूपमा परिवर्तनले निम्त्याएका चुनौतिहरूलाई प्रभावकारी ढंगले सामना गर्ने मुलुकको एकमात्र संगठन हो । परिवर्तनका कारण अन्य राष्ट्रिय संस्थाहरू कि झुकेका छन् कि निष्क्रिय वा कार्यविहीन भएका छन् । परिणामतः व्यापक भ्रम, नकारात्मकता र पूर्ण निराशा छाएर आज हाम्रो देशको अवस्था चिन्ताजनक भएको छ ।
तमाम व्यावहारिक उद्देश्यपूर्तिका लागि निर्वाचित जनप्रतिनिधिहरूको इच्छा र आकांक्षाअनुरूप राष्ट्रिय हितको सेवा गर्ने राज्यको साधन र राष्ट्रिय शक्तिको अपरिहार्य तत्त्व हो, नेपाली सेना । चार दशकभन्दा बढीको सेवाअवधिमा मैले राजतन्त्र अन्तर्गत राजा, बहुदलीय लोकतान्त्रिक संसदीय प्रणाली अन्तर्गत संवैधानिक राजा र संघीय गणतन्त्र अन्तर्गत राष्ट्रपति राष्ट्र प्रमुखमा रहँदा सेनामा सेवा गरेको छु । सैन्य सेवामा रहँदा हामीले निश्चय पनि परिवर्तनलाई आत्मसात् गरेर आफूलाई तदनुकूल बनाएका छौं । कनिष्ठदेखि सेनाको सर्वोच्च पदसम्म पुग्दा मैले विभिन्न तह र तप्कामा रहेर काम गरेको छु । यस क्रममा भएका र गरिएका सबै परिवर्तनलाई आत्मसात् र व्यवस्थापनका साथै आफ्नो अपरिहार्य व्यावसायिक चरित्र र अराजनीतिक प्रकृतिको सफलतापूर्वक संरक्षण गर्नु नै सेनाको संगठन व्यवस्थापन गर्ने क्षमताको प्रमाण हो । नेपाली सेनाले राज्यको अमिट उपकरणका रूपमा सधैं राष्ट्र र जनताको सेवा गरेको तथ्यको प्रमाण पनि हो यो ।
ऐतिहासिक संक्रमणका क्रममा सुरक्षित दिशा पक्रनु संगठनको अद्वितीय क्षमता र सैन्य संस्कृतिको एक विशिष्ट विशेषता हो, जो नेपाली सेनाबाट चीर संरक्षित र पोषित छ । सैन्य संस्कृतिलाई संगठनले तय गरेको मान्यता र विश्वास अनि यसको व्यवहारमा भएको अभिव्यक्तिका रूपमा परिभाषित गर्न सकिन्छ, जसले आफ्नो काम र कार्यसम्पादनलाई आकार दिन्छ । भर्ती, प्रशिक्षण, संगठन, प्रशासन, युद्ध र पुस्ताहरूमा हस्तान्तरित अन्य यस्तै प्रक्रियाहरूको संस्थागत ज्ञान किन र कसरीका प्रतीक र परम्पराहरूमा जोडिएको एक थेग्रीकरण हो । यो समयसँगै बिस्तारै बढ्दै जान्छ र आफैंलाई सम्मिलित गर्छ, जसरी संगठनका सदस्यहरू प्रायः यसका आदेशहरूको पालना स्वस्फूर्त रूपले गर्छन् । राजनीति बुझ तर यसबाट अलग बस भन्नु उस्तैजस्तो देखिन्छ ।
नेपाली सेना ठूलो संगठन भएको अनुभूति धेरैलाई भएको पछिल्लो समयको छलफल र बहसबाट प्रस्ट हुन्छ । तैपनि, शताब्दियौंदेखिको इतिहास र परम्परामा डुबेका नेपाली सेनाजस्ता ठूला संगठनहरू महासागरमा तैरिने ‘सुपरट्यांकर’ तुल्य छन् भन्ने कुरा पनि बुझ्न उत्तिकै जरुरी छ । साना बेगका डुंगाहरू विपरीत बाटामा पनि जान सक्छन् र ती तुरुन्तै पल्टी पनि हाल्छन् । ‘सुपरट्यांकर’ हरूलाई बाटो बदल्न समय र ठाउँ चाहिन्छ । यसका अतिरिक्त, असम्बन्धित ससाना कमजोरी र गल्तीहरू औंल्याएर त्यसलाई संस्थागत अस्वस्थता भन्नु रचनात्मक कृत्य होइन ।
पछिल्लो समय नेपाली सेनाको ढाँचा, आकार र भूमिकामाथि प्रश्न उठाउने छिटपुट लेखहरूले आम जनताको ध्यानाकर्षण गरेका छन् । चिन्ताजनक रूपमा, यसले सामाजिक सञ्जालमा पनि गति लियो । यो दुराशयपूर्ण विचार बाहिर आउने समय आवेगपूर्ण रूपले तय गरिएको छ । सर्वविदितै छ, हाम्रो राज्य संरचना, यसका तत्त्व र कार्यहरूको आधार तथा जरा ईसापूर्व तेस्रो शताब्दीमा कौटिल्यकृत ग्रन्थ ‘अर्थशास्त्र’ मा पाउन सकिन्छ । उनको सप्तांग सिद्धान्तलाई सात अंगहरू भनेर अनुवाद गरिएको छÙ स्वामिन (नेतृत्व), अमात्य (परिषद्), जनपद (क्षेत्र र जनता), दुर्ग (किल्ला–रक्षा शक्ति), कोष (कोषागार–आर्थिक शक्ति), दण्ड (सैन्य– आक्रामक शक्ति) र मित्र (सहयोगी) । यसले राज्यको प्रकृति र चरित्र बुझ्न सहज बनाउनुका साथै राज्यको प्रकृति पनि निर्धारण गर्छ ।
शताब्दियौंअघिका कट्टर यथार्थवादीबाट आएको यो दृष्टिकोण अझै पनि सान्दर्भिक छ र बढ्दो चुनौतीपूर्ण भूराजनीतिक समयमा मार्ग पहिल्याउन सहयोगी पनि । त्यसो भए, हाम्रो नेपाली सेनाको आकार, ढाँचा र रूप (सैन्य शक्ति परिभाषित गर्नका लागि केही खुकुलो र अस्पष्ट शब्द) निर्धारण गर्न कोस्टारिका वा युक्रेनलाई किन हेरिरहेका छौं, जबकि हामीसँग आफ्नै संस्कृति र परम्परामा ज्ञान र अनुभवको कुनै कमी छैन । कतिपय प्रतिष्ठित रणनीतिक चिन्तक र लेखकहरूले गरेका तुलना र दिएका दृष्टान्तहरू अहिले सन्दर्भभन्दा बाहिर र चकित पार्ने खालका छन् । बाल्यकालको एउटा भनाइ सम्झन्छु, ‘आकांक्षाहरू घोडा हुन्थे भने भिखारी यसमा सवार हुन्थ्यो ।’
नेपाली सेनाले विनियोजित बजेटको ठूलो प्रतिशत तालिमका लागि
छुट्याएको तथ्यलाई हलुका ढंगले ढाकछोप गर्न मिल्दैन । प्रशिक्षण प्रयासहरू प्रबल र टिकाउ घरेलु योजनाको क्षमता सृजना गर्न र त्यसलाई कायम राख्नका लागि तयार गरिएको हुन्छ । आवश्यक परेका बेला सैन्य र बौद्धिक रूपमा सक्षम सैनिक विशेषज्ञताले सरकारको समग्र रणनीतिक निर्णय प्रक्रियालाई सहयोग गर्न सक्छ भन्ने प्रमाणितै छ ।
हालको योजनाका अतिरिक्त संगठनभित्र विकसित अर्को मुख्य क्षमता सुदृष्टिपूर्ण योजना हो । यसले भावी द्वन्द्व र युद्धक्षेत्रको प्रकृति तथा रूपलाई हेर्छ । यस क्षेत्रमा विकसित विशेषज्ञतामाथि शक्ति संरचना, शक्ति योजना, शक्ति उत्पादन र शक्तिको ढाँचा निर्माणको अझ भनौं आकार, ढाँचा र रूपको सार निर्भर गर्छ । शक्तिको आवश्यकता र क्षमता निर्धारण गर्न, नागरिक नेतृत्वद्वारा प्रदान गरिएको नीति तथा योजना र दिशानिर्देशहरूमा आधारित व्यापक समीक्षा र गहिरो रणनीतिक मूल्यांकन यहीँनिर गरिन्छ । साधनहरू उपलब्ध गराएको खण्डमा वर्तमान सैन्य संरचना अनिश्चित, जटिल र अस्पष्ट सुरक्षा वातावरणको पूर्वानुमान तथा व्यवस्थापन गर्न बौद्धिक रूपमा सुसज्जित र सक्षम छ । यद्यपि, नेपाली सेनाको ढाँचा र आकारलाई लिएर भइरहेको हल्लाखल्लामा नागरिक पक्ष संलग्न भएको प्रस्ट हुन्छ । सम्बन्ध र संस्थाहरूलाई हानि नगरीकनै हालको बहसलाई व्यावहारिक मार्गमा अगाडि बढाउन आवश्यक प्राविधिक–सैन्य सीप, ज्ञान र अनुभव राजनीति, नोकरशाही, नागरिक समाज र सञ्चार क्षेत्रसँग चर्को अभाव छ ।
मेरो विचारमा यो चरणमा नेपाली सेनाको निष्ठा र प्रभावकारितामाथि प्रश्न उठाउनु अपमानपूर्ण र लज्जाजनक काम हो । निश्चय पनि यो सेनाको देश होइन, बरु हामी सिपाही यो देशका हौं । यो विसंगतिपूर्ण कथन निराशावादी स्वर र दिशाको सूचक हो, जसले कुबेलामा सेनाको ढाँचा र आकारको भाष्य निर्माण गर्न खोज्दै छ । हावादारी तर्क गरेर भड्काउने
खालका धारणालाई ढाँचा दिने संकुचित झुन्डले बनाएको कथा हो यो ।
आफ्नो अनुहार मन परेन भनेर नाक काट्नु भनेको मूर्खता हो । अझै, सार्वजनिक अखडामा राष्ट्रिय सुरक्षाजस्तो महत्त्वपूर्ण तर अपारदर्शी अवधारणामा हावादारी विचार र परिकल्पना गरिनु दुर्घटनाका लागि एक उच्च जोखिमहरूले भरिएको खुराक हो ।
नेपाली सेनाको आकार घटाउन वैकल्पिक तर्कको रूपमा व्यावसायिकताविरुद्धको व्यापारउन्मुख गतिविधिको मुद्दा उठाइएको देखिन्छ । सरकार गठनमा तीन महिना लामो ढिलाइलाई ध्यानमा राख्दा नेपाली सेनाको आकार र ढाँचा पक्कै पनि कम चासो र परिणामको विषय हो । दुईवटा विवादले नेपाली सेनालाई सदाका लागि उल्झनमा पारेको छ । त्यसमध्येको एउटा हो, राष्ट्र निर्माण कार्यमा सेनाको संलग्नता । यो विधिवत निर्वाचित कार्यकारिणी र मन्त्रिपरिषद्का निर्णयहरूद्वारा निर्दिष्ट कार्य हो, जो विश्वभरका अन्य प्रजातान्त्रिक सेनाहरूले गरेका गतिविधिसँग मिल्दोजुल्दो छ । यो भनेको युद्धबाहेक अन्य कार्यहरूको दायरा अन्तर्गत गरिएका गतिविधिहरू हुन् । त्यसै गरी, देशकै तेस्रो ठूलो कोषको रूपमा रहेको सैनिक कल्याणकारी कोषको उपयोग वा दुरुपयोगले पनि निकै आलोचना खेपेको छ । सारमा भन्दा यो सरकारले स्वीकृत गरेको अक्षय कोष हो, जसको सञ्चालन सरकारद्वारा निर्दिष्ट आफ्नै कानुन र नियमहरूद्वारा हुन्छ, जुन सन् २००६ मा संसद् पुनःस्थापनापछि बनाइएको थियो । यसले सेवारत र पूर्वसैनिक र उनीहरूका परिवारको कल्याण सम्बन्धी सरकारको जिम्मेवारीलाई स्पष्ट रूपमा त्याग्छ । तथापि यो कुनै दबाबमा लिइएको निर्णय थिएन । यस ऐन र कानुनले नेपाली सेनालाई सरकारको स्पष्ट निगरानीमा सामान्य कल्याणकारी प्रयोजनका लागि कोषको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिएको छ ।
यो निरर्थक विभाजनको समाधान एउटा साधारण प्रश्नको जवाफमा निहित छ । यो रोक्ने अधिकार प्रयोग गर्नबाट सरकार र जनप्रतिनिधिहरूलाई केले रोकिरहेको छ ? सेनाको धम्कीले ? त्यो कुन अर्थमा र कसरी ? यो यस्तो सेना हो, जसले शताब्दियौंदेखि आफ्नो राजनीतिक नेतृत्वको आदेश
पालन गरेको छ । त्यसैले यो गैरराजनीतिक सेना हो । आदेशको कडा माखेसाङ्लो
पछ्याउने र अवैध आदेशहरूमा निरन्तर प्रतिक्रिया दिने सेना पनि यही हो । कालो र सेतोबीचको भिन्नताको संस्कृतिले भरिएको यो सेना बीचमा रहेका खैरो क्षेत्रहरू बुझ्न संघर्ष गर्छ, जो राजनीतिका लागि प्राकृतिक खेल मैदान हो ।
मेरो विचारमा, फास्ट ट्र््याक परियोजनालाई कुनै मन्त्रालयको जिम्मामा फिर्ता गर्ने साधारण कार्यकारी निर्णय सेनालाई अनावश्यक विवादमा फसाउने छनोट मात्र हुनेछ । यसका अतिरिक्त, कल्याणकारी कोषको व्यवस्थापनमा आवश्यकता अनुसार सरकारको पर्यवेक्षक र नियामक भूमिका निर्धारण गर्ने थप दृढ सरकारी नीतिहरूको तर्जुमा गर्नुपर्ने भए सेना त्यसका लागि सजिलै तयार छ । वस्तुनिष्ठ आलोचनाका नाममा आरोप–प्रत्यारोपका खेलहरू रचेर कपटपूर्ण तत्त्वहरूलाई ठाउँ उपलब्ध गराउनु सुमधुर नागरिक–सैन्य सम्बन्धको परिप्रेक्ष्यमा शून्य–योगको खेल हो ।
सरकारले सेनाप्रतिको आफ्नो कल्याणकारी कर्तव्य र व्यवस्थापनको जिम्मेवारीलाई त्यागेको छ । प्रत्यायोजित जिम्मेवारीहरू सम्हाल्ने सेनाको क्षमतामा पूर्ण निष्ठा, भरोसा र आत्मविश्वासका साथ यो गरिएको हो । विगतका गतिविधि र यस क्षेत्रमा भएका उपलब्धिहरूको व्यापक समीक्षापछि यो निर्णय गरिएको हो । हचुवाको लगानीबाट कोषलाई जोगाउन कानुनी प्रावधानहरू स्थापित छन् । समयको साथसाथै यसले सेनालाई वास्तविक अर्थमा व्यापारमा संलग्न हुनबाट रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रायः सिपाहीहरूको पसिना र रगतको कमाइ भनेर चिनिने यो कोष सञ्चालनको सिद्धान्त सरल छ ।
कोषले बैंक, वित्तीय संस्था र सानादेखि मझौला उद्यमजस्ता न्यूनतम जोखिमयुक्त लगानीबाट ब्याज र आम्दानीको रूपमा कमाइ गर्नेवाला थियो । यस्तो आम्दानीलाई सेनाले आफ्नो कल्याणकारी कार्यक्रम चलाउन प्रयोग गर्नुपर्थ्यो । विगतमा सैन्य नेतृत्व तथा प्रचलित आर्थिक र वित्तीय अवस्थाका आधारमा पुँजीमा पर्याप्त वृद्धि गर्ने रूढिवादी र सुरक्षित लगानीेलाई कम उपयोगी र अप्रभावकारी भनेर आलोचना गरिएको थियो, जसका अभिलेखहरू छन् । त्यसलाई भूलसुधार गर्न थप फराकिलो लगानी कार्यक्रम अवलम्बन गर्दा उल्टै लालचपूर्ण व्यापारिक स्वार्थका लागि व्यावसायिक पथबाट लापरवाहीपूर्ण तरिकाले विचलित भएको भन्दै चौतर्फी आलोचना भएको छ । यो निःसन्देह एक अवाञ्छित अवस्था हो जसमा कुनै पनि संस्था पर्न चाहँदैन । बहुदिशाहरूबाट उत्पन्न हुने अनौपचारिक अवलोकन, विरोधाभासी र अपमानजनक टिप्पणीहरू र महालेखा परीक्षकको कार्यालयजस्ता विश्वसनीय संस्थाहरूद्वारा प्रस्तुत गरिएको नियमित लेखापरीक्षण प्रतिवेदनहरू अनुपयोगी र पीडायादी किसिमले चकित पार्ने खालका छन् ।
सेनाको संख्या घटाउने वा उपयुक्त संख्या राख्ने भन्ने मामिला सबै सरलीकृत रटानहरू हुन्, जो जटिल किसिमको बहुपत्रे अन्तरछेदित प्रक्रियामाथि ध्यान दिन प्रयोग गरिन्छ, जसमा रणनीतिक निर्णय समावेश हुन्छ । यो प्रायः सैन्य संगठनहरूमा लागू हुन्छ र अनुभवी राजनीतिज्ञहरू, सिद्ध प्राज्ञहरू, कुशल कर्मचारी र प्रतिभाशाली सैन्य पेसाकर्मीको पोल्टामा यस्ता जिम्मेवारीहरू पर्छन् । सान्दर्भिकता, ढाँचा, आकार, रूप र अन्य यस्ता सतही मामिलाहरू सम्बन्धी मामुली मुद्दाहरूमा झगडा गर्नु समय सक्नु मात्रै होइन, अर्थहिन पनि छ ।
नेपाली सेना नेपालको सबैभन्दा पुरानो जीवन्त संस्था हो र यो रहन्छ पनि । यसबाहेक, ‘युद्धबाहेकका अन्य कार्यहरू’ भनिने राष्ट्र निर्माण र कल्याणकारी गतिविधिहरूको संलग्नताले सेनाको व्यावसायिकतालाई क्षय ल्याउँछ भन्नु पनि व्यर्थको अभ्यास हो । यसको मतलब व्यक्तिगत सरोकार र विचारले अर्थ राख्दैनन् भन्ने होइन । निःसन्देह, राख्छन् । तर, तिनीहरू सकारात्मक अर्थमा आलोचनात्मक मात्र होइनÙ वस्तुनिष्ठ, रचनात्मक र सबैभन्दा महत्त्वपूर्ण रूपमा व्यावहारिक पनि हुनुपर्छ । रणनीतिक विचार एक कला हो । अन्य कलाहरूमा जस्तै यो पनि केही प्रतिभाशालीमा सीमित छ । यो पक्कै पनि प्राप्त ज्ञान प्रदर्शन गर्ने खेल मैदान होइन । यो त गम्भीर परिणामयुक्त गम्भीरै मामिला पो हो ।
खुकुलो र दुराशययुक्त मानसिकताले परिभाषित शब्द ‘आकार’ को समानार्थी शब्द सैन्य योजनाको भाषामा शक्ति संरचना, शक्ति विकास, शक्ति व्यवस्थापन र शक्ति उत्पादनजस्ता थप ठोस प्रक्रियाहरूसँग सम्बन्धित छ । यी योजना प्रतिमानहरूले ‘भद्दा आकार’ ले समाविष्ट गर्ने विचारको अस्पष्ट प्रवाहलाई भिन्न रूप र सर्तहरूमा समाविष्ट गर्छन् । नेपाली सेनाका छनोट अधिकारीहरूसँग यस उच्च विशिष्ट सैन्य क्षेत्रमा प्रशिक्षण र अनुभव छ । प्रवीणता र दक्षता भनेको सैन्य योजनाका लागि आवश्यक पर्ने दुईवटा अनिवार्य आवश्यकता हुन् । पहिलोले विषयवस्तुको विशेषज्ञताको उपाधि र पछिकाले कामलाई कम खर्चिलो र छोटो प्रयासमा छिटो सम्पन्न गर्ने क्षमतालाई जनाउँछ । यी गुणहरू सैन्य प्रभावकारिता बढाउनका लागि आवश्यक छन्, यी त्यस्ता कारक तत्त्व हुन् जसले वाञ्छित वा इच्छित परिणामहरू उत्पादन गर्नमा सफलता सुनिश्चित गर्छन् ।
आकार वा संख्या घटाउने बहस वा अरू जुनसुकै बहसको केन्द्रविन्दु सैन्य संस्कृतिको मूल्य, महत्त्व र सैन्य दक्षतामा यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावमा केन्द्रित हुनुपर्छ । सैन्य प्रभावकारिता त्यो प्रक्रिया हो जसद्वारा सशस्त्र बलहरूले स्रोतसाधनलाई युद्ध–शक्तिमा रूपान्तरण गर्दछ । सेनाको व्यावसायिकता, दक्षता र प्रभावकारिता नाप्नका लागि संरचित बहु–आयामी ढाँचा चाहिन्छ । यसलाई राजनीतिक, कार्यात्मक, परिचालनात्मक र रणनीतिक स्तरहरूमा द्वन्द्व, टकराव वा युद्धको आचरणका लागि तयारी समाविष्ट गर्ने सिधा आयामको गहिरो अध्ययन र विश्लेषण आवश्यक छ । सैन्य संगठनहरूले प्रत्येकमा कार्यान्वयन गर्नैपर्ने पदानुक्रमिक क्षितिजीय कामहरू सुरुङ खन्नु, तालिम लिनु, सुसज्जित हुनु तथा सैन्य शक्तिको बललाई कायम राख्नु तथा युद्ध लड्नु हुन् । किनभने अन्ततोगत्वा सेना उति नै राम्रो हुन्छ जति राम्रो राजनीतिक नेतृत्व हुन्छ ।
सेनाको अन्तिम उद्देश्य, सैन्य शक्तिको सृजना, परिचालन र प्रयोग गर्नु हो । सैन्य बल उत्पादन, संरचना, ढाँचा, विकास र व्यवस्थापनका लागि प्रक्रिया र योजनाको खाकाले अन्ततः संगठनको ढाँचा, आकार र प्रकारलाई सृजना गर्न र कायम राख्न काम गर्छ ।
पुनःसंरचना, पुनः सैनिकीकरण, पुनः आकार निर्धारण वा पुनः ढाँचा निर्माणजस्ता प्रक्रिया जारी योजना गतिविधिहरू हुन् । तिनीहरू सरकारी नीतिहरू, दिशानिर्देशहरू र विनियोजित स्रोतहरू अनुरूप रहन्छन् ।
यो सैन्य संगठनको युद्ध सामर्थ्य अंगसँग अन्तर्सम्बन्धित छ । सैन्य कार्यक्रम र मिसनहरूका लागि चाहिने सैनिक, हातहतियार र उपकरणहरू सैन्य सिद्धान्त तथा युद्धको परिस्थितिले तय गर्छ । समयक्रममा यसले वर्तमान शक्ति, योजनामा भएको शक्ति र भविष्यको शक्तिका लागि मुद्रा, संसाधन र दिगो तत्परता साथ उच्च अधिकारीहरूबाट अनुमतिका लागि आवश्यक स्वीकृतिको पर्खाइका साथ समीक्षा गर्दछ । यसर्थ, राष्ट्रिय सुरक्षाको
हितमा यस्ता संवेदनशील विषयको विवरणबारे सार्वजनिक रूपमा छलफल गर्नु बुद्धिमानी हुँदैन ।
निष्कर्षमा, नेपाली सेनाको पुनःसंरचना, परिमार्जन र पुनः इन्जिनियरिङको आवश्यकताको बहस सुरु गर्दा घोडाको अगाडि गाडा राखिएको जस्तो देखिन्छ । नेपाली सेनाको लोकतन्त्रीकरण र आधुनिकीकरण प्रक्रियाको पहरेदारको रूपमा नागरिक समाजको महत्त्वपूर्ण भूमिका पक्कै छ । यसमा तलदेखि माथिसम्म लाभकारी परिवर्तनका लागि दबाब सृजना गर्ने क्षमता छ । तर, यस नाजुक मुद्दामा कार्यान्वयनका लागि पेस गरिएका सबै आलोचना, सल्लाह, सिफारिस र सुझावहरू राम्ररी सोचेर, यथार्थपरक, तार्किक, सन्तुलित, व्यावहारिक र अन्ततः कार्यान्वयन गर्न सकिने किसिमको हुनुपर्छ ।
अन्त्यमा एउटा तथ्य— सन् २०२२ मा काठमाडौं विश्वविद्यालय र इन्टरडिसिप्लिनरी एनालिस्ट्सका विश्लेषकहरूले नेपाली जनतामाझ गरेको हालैको सर्वेक्षणमा ९१ प्रतिशत उत्तरदाताहरूले ‘नेपाली सेना आफूले सबैभन्दा बढी विश्वास गर्ने संस्था हो’ भन्ने जवाफ दिएका छन्, जो नेपाली सेनाले शताब्दियौंदेखिको समर्पित सेवाका क्रममा आर्जन गरेको भरोसा र आत्मविश्वासको प्रमाण हो ।
जबरा नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन् ।

 

दृष्टिकोण

लैंगिक समानताको अपुरो यात्रा

- पविता मुडभरी पुडासैनी

 

यसपालिको अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइयो । नेपालमा महिलाका मुद्दा लैंगिक अधिकार, राजनीतिमा प्रतिनिधित्व, सम्पत्तिमा पहुँच लगायत विषयमा केन्द्रित छन् । संविधानले राज्यका निकायमा महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी विभिन्न व्यवस्था गरे पनि कार्यकारी भूमिकामा उपस्थिति अत्यन्त न्यून छ ।
राजनीतिक दलहरूका प्रमुख पदमा एक जना पनि महिला छैनन् । राजनीतिक अन्योल, अस्थिरता र दलीय दबाबका कारण संसद् र सरकारमा महिलाको एकतिहाइ प्रतिनिधित्व हुन सकेको छैन । स्थानीय तहको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि प्रमुखभन्दा उपमै महिलाहरू सीमित छन् । उनीहरूलाई निर्णायक भूमिकामा ल्याउन अझै सकिएको छैन । विगतमा समानुपातिकबाट प्रतिनिधित्व गरेकालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा अवसर दिए मात्र महिलाको आत्मबल बढ्नुका साथै नेतृत्व क्षमतासमेत विकास हुँदै जाने हो । तर, यसो गर्नमा राजनीतिक दलहरू उदासीन छन् । समानुपातिक निर्वाचन र प्रत्यक्ष निर्वाचन प्रणाली दुवैतर्फ महिला र पुरुषमध्ये ५०–५० प्रतिशत उम्मेदवार हुने व्यवस्था गरे मात्र संवैधानिक मर्मअनुकूल महिला प्रतिनिधित्व माथिल्लो निकायमा सन्तोषजनक बन्न सक्छ । माथिल्लो तहमा प्रवेश पाएका केही महिलाबाट पनि महिला हकहितका क्षेत्रमा उल्लेख्य प्रगति हुन नसक्नु अर्को विडम्बना हो । महिला नेतृत्वको विकासका लागि सरकारले कति पनि लगानी गरेको छैन । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीबाट अधिकांश महिला वञ्चित छन् । यस्तोमा उनीहरूले समाजमा सम्मानजनक उपस्थिति देखाउन सक्दैनन् ।
सन् १९४५ मै संयुक्त राष्ट्रसंघले महिला पुरुषमा समानता कायम हुनुपर्छ भनी बडापत्र पारित गरेको थियो । महिला हिंसाबाट प्रताडितहरूलाई न्यायप्राप्तिको सहज वातावरण बन्न सकेको छैन । पीडित महिलाले न्याय नपाएर कष्टकर जीवन बिताउनुपरेका र आत्महत्या नै गर्ने गरेका घटना कैयौं छन् । नागरिकताकै सवालमा महिलाहरू स्वअस्तित्वरहित र पहिचानविहीन जीवन बाँचिरहेका छन् । तिनले आफ्नो पहिचान खुलाउन पुरुषको तीनपुस्ते नाम झुन्ड्याउनुपर्छ । आज पनि महिला भएकै कारण राज्यबाटै प्रताडित छन्, तिनले आफ्ना सन्तानलाई सहजै नागरिकता दिन सकिरहेका छैनन् । लैंगिक विभेदजन्य प्रताडना भोगिरहेका हजारौं महिलाका जीवनयापन, पारिवारिक र सामाजिक समस्या निराकरणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण खोइ ? समाज र सस्कारसँगै सरकारले समेत महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा कहिलेसम्म उभ्याइरहने ? पछौटेपन, शोषण र उत्पीडनमा महिलाहरू कहिलेसम्म पिल्सिइरहने ?
अमेरिकाको न्युयोर्क सहरबाट मजदुर महिलाहरूले महिला हकहित र अधिकारका लागि संघर्ष गर्दै सडकमा निस्किएको दिनलाई अन्तरर्राष्ट्रिय नारी दिवसका रूपमा विश्वभरि मनाउने गरिन्छ । वास्तवमा आज पनि हामीकहाँ नेपाली मजदुर महिलाको हकअधिकार दयनीय नै छ । मजदुर महिलाहरूले एउटै प्रकृतिको काममा पनि पुरुषसरह ज्याला नपाउने अवस्था छँदैछ । खास गरी निजी क्षेत्रमा काम गर्ने महिलाहरूको हालत अझ दयनीय छ । अन्य क्षेत्रमा पनि महिला कर्मचारी वा कामदारलाई पुरुषको तुलनामा कम तलब वा ज्याला दिने प्रवृत्ति जताततै छ । यो चरम लैंगिक विभेद र महिलामाथिको अन्यायविरुद्ध न सरकार संवेदनशील छ न त सम्बन्धित निकाय नै । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने महिला कामदार सबैभन्दा बढी थिचोमिचो र लैंगिक विभेदमा छन् । सरकारी क्षेत्रको तुलनामा एकतिहाइ पनि पारिश्रमिक वा ज्याला नपाई महिलाहरू कठोर श्रम गर्न बाध्य छन् ।
समाजलाई बालबालिकालाई र आम नागरिकलाई मानवाधिकारका विषयमा सचेत र जागरुक बनाउने शैक्षिक संस्थाका महिला शिक्षक र आफ्नो ज्यानको परवाह नगरी नागरिकका ज्यान बचाउन दिलोज्यानले काम
गर्ने स्वास्थ्य संस्थाका नर्स, डाक्टर लगायत महिला स्वास्थकर्मीको पारिश्रमिकमा लैंगिक विभेद अझ चर्को छ । नर्सहरूले न्यूनतम तलब पनि नपाएको गुनासा बेलाबखत बाहिरिने
गरेका छन् । यस्तै लैंगिक विभेदकै कारण अधिकांश नर्स तथा डाक्टर विदेश जान थालेका छन्, यो लस्कर दिनप्रतिदिन बढ्दो छ । यस्तोमा आम महिलाको जीवनस्तर उकास्न र मानवाधिकार सुनिश्चित गर्न तथा ज्याला र पारिश्रमिकमा समानता कायम गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने हो ।
नारी दिवसको अवसरमा अघिल्लो कार्यकालमा सार्वजनिक बिदा दिने व्यवस्थाको सुरुआत गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले हाल पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने उद्घोष गरेका छन् । यो आम महिलाका लागि खुसीको खबर हो । तर नेपालको भौगोलिक विकटता र स्वास्थ्य सेवाको चुनौतीपूर्ण अवस्थाको गम्भीर मनन गरी देशभरिका महिलालाई ध्यानमा राखी निःशुल्क क्यान्सरको पहिचान तथा उपचारको व्यवस्था मिलाउनुपर्छ । यसका लागि ग्रामीण र विकट क्षेत्रमा समेत सुविधासम्पन्न स्वास्थ्यचौकी बनाउनुपर्छ ताकि सबै क्षेत्र र वर्गका महिलाले सहजै यो सेवा पाऊन् । सेवा दिएकै छ भनेर देशभरिका दुर्गम बस्तीका बासिन्दाले पनि निःशुल्क उपचारका नाममा वीर अस्पताल नै धाउनुपर्ने विषम परिस्थितिको अत्य हुने गरी अब स्वास्थ्य सेवा सुधार र विस्तार गर्नुपर्छ ।
आम महिलाको जीवनस्तर उकास्न ग्रामीण तथा विपन्न महिलाहरूका कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी सीप र श्रमको उचित मूल्य पाउने व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्छ । महिला हकहित, अधिकार तथा न्याय प्राप्तिका लागि रणनीति अपनाउनुपर्नेमा सरोकारवालाले संसद् र सरकारमा महिलाको प्रतिनिधित्वलाई मात्र नारी दिवसमा जोडतोडले उठाउने गरेका छन् । अधिकांश महिलाले घरदेखि सार्वजनिक क्षेत्रसम्म लैंगिक समानताको अनुभूति गर्ने वातावारण बनिसकेको छैन । आजका नारीले मूलतः लैंगिक न्याय खोजेका छन् । परिवारदेखि राज्यसम्मको व्यवहारमा लैंगिक समानता र सम्मान खोजेका छन् । यससँगै जैविक अधिकारसमेत महिलाले खोज्नु उसको मानवाधिकारभित्रै पर्छ । जैविक संरचना हेर्ने हो भने पुरुषको तुलनामा महिलालाई थप विशेषाधिकार आवश्यक हुन्छ । विशेषतः समान व्यवहार र समान अवसरको रणनीति अँगाल्दै शिक्षा, स्वास्थ्य र रोजगारमा आम महिलाको पहुँच विस्तार गरी तिनमा चेतना र आत्मनिर्भरता बढाउन सक्नु नै लैंगिक समानताको पहिलो खुट्किलो हो ।

Page 8
वाग्मती प्रदेश

माग पूरा नगरेसम्म घर नफर्किने

- लीला श्रेष्ठ

(काठमाडौं)
नवलपरासी पश्चिम, प्रतापपुर–४ हर्षपुराकी खुसवुन नेसाका श्रीमान् सुकुरुल्लाह मियाँले छोरीको विवाहका लागि जगदीश सुनीलसँग ६ लाख रुपैयाँ ऋण लिए । ७ वर्षअघि लिएको ऋण उनीहरूले ५ वर्षमा २२ लाख रुपैयाँ तिरिसके । सुनीलले अझै ३० लाख मागिरहेका छन् ।
‘२२ लाख बुझाएपछि पनि बारबार धम्की दिएर ३० लाख रुपैयाँ मागिरहेको छ,’ खुसवुनले भनिन्, ‘धम्की सहन नसकेर हार्ट अट्याक भएर श्रीमान् गत वैशाखमा बित्नुभयो ।’ न्यायका लागि भन्दै दोस्रोपल्ट सोमबार काठमाडौं आइपुगेकी खुसवुन मिटरब्याजी सुनीलले आफूहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गराएर जग्गा कब्जा गरेको बताउँछिन् । उनी न्यायको माग गर्दै गत साउनमा काठमाडौं आएर ६१ दिनपछि घर गएकी थिइन् । सरकारले आफ्नो मागको सुनुवाइ नगरेको भन्दै सोमबार पुनः दालचामल, लत्ताकपडाको पोको बोकेर उनी अरू मिटरब्याजपीडितसँगै काठमाडौं आइपुगेकी हुन् ।
प्रतापपुर–५ सिलामपुरकी आश्मा खातुनले घर बनाएको ऋण तिर्न ५ वर्षअघि सुरेश बानियाँसँग ४ लाख ९५ हजार रुपैयाँ लिएकी थिइन् । श्रीमान्ले कतारमा मेकानिकको काम गरेर कमाएको रकम पठाइरहेका थिए । बानियाँलाई आश्माले ३ वर्षमा २० लाख रुपैयाँ बुझाइसकेकी छन् । थप रकम ताकेता गरेपछि सात कट्ठा जग्गा बेचेर १० लाख रुपैयाँ पनि दिइन् । ‘हालसम्म ३० लाख रुपैयाँ बुझाइसकें, अझै १५ लाख रुपैयाँ मागेको छ,’ उनले भनिन्, ‘बानियाँले घरमै आएर धम्की दिइरहेको छ, धम्की सुन्दासुन्दा मेरी सासू आमा पनि बित्नुभयो ।’ आश्मा पनि न्यायको माग गर्दै यति बेला काठमाडौंमा छिन् । गत असोजमा न्यायको आश्वासन पाएर फर्किएकी उनी यस पटक आश्वासनमा नफस्ने प्रतिबद्धतासहित आएको बताउँछिन् । ‘असोजमा ६१ दिनपछि न्यायको आशाले फर्कियौं तर सरकारले मिटरब्याजपीडितसँग गरेको कुनै पनि सहमति कार्यान्वयन नगरेकाले पुनः आउन बाध्य भयौं,’ उनले भनिन्, ‘यसपल्टको आन्दोलन निर्णायक हुनेछ, न्यायको टुंगो लागेपछि मात्र फर्किन्छौं । आन्दोलनका लागि फेरि काठमाडौं आउन नपरोस् ।’
नवलपरासी सुस्ता–४ नरसहीका उमाशंकर लोनियाँले छोरालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाउन ६ वर्षअघि रामनरेश गुप्तासँग ४ लाख रुपैयाँ ऋण लिएका थिए । २ वर्षभित्र लघुवित्तबाट ऋण लिएर ८ लाख ३० हजार रुपैयाँ बुझाए, गुप्ताले अझै १६ लाख रुपैयाँ मागिरहेका छन् । ‘मविरुद्ध गुप्ता अदालत गएर मुद्दा जित्यो, हाम्रो ११ कट्ठा जग्गा लिलामीको प्रक्रियामा छ,’ लोनियाँले निराश हुँदै भने । ऋण लिएर मलेसिया पठाएका छोरा कम्पनी बन्द भएर २ महिनामै फिर्ता आएका छन् । त्यही ऋणले परिवार नै उठीबासको अवस्थामा पुगेको लोनियाँले बताए । ‘पैसा पनि पटक–पटक लियो, अदालतमा मुद्दा पनि उसैले जित्यो,’ उनले भने ।
गत असोज १ गते गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच ५ बुँदे सहमतिपछि आन्दोलनको ६१ दिनमा मिटरब्याजपीडितहरू घर फर्केका थिए । उक्त सहमतिमा मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने, ऋणीको साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिस्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रूपले हुन आउने साँवाब्याज पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको थियो ।
त्यस्तै, संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लिखित सिफारिस कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय गरी मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेसमेत सहमति भएको थियो । ५८ दिन आन्दोलनरत मिटरब्याजपीडितहरूले आफूहरूको माग पूरा गर्न सरकारले सहमति गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता गरेर ६१ दिनमा घर फर्किएका थिए । तर, त्यो कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै मिटरब्याजपीडितहरू निर्णायक आन्दोलनका लागि भन्दै सोमबार तराईका ८ सहित १६ जिल्लाबाट काठमाडौं आएका छन् ।
सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो, अपूर्ण र अपर्याप्त भएको भन्दै मिटरब्याजपीडितहरू थप आन्दोलित भएका छन् । ११ दिनको पैदल यात्रापछि गत साता महोत्तरी बर्दिबासबाट काठमाडौं आएका पीडितहरूसँग सरकारले शनिबार गरेको सहमतिसमेत अपूर्ण भएको भन्दै उदयपुर, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, दाङ, कैलालीलगायतका जिल्लाबाट दालचामल, लत्ताकपडा, कृषि सामग्री, बालबच्चासहित ५०५ मिटरब्याजपीडित काठमाडौं आइपुगेको ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ का प्रवक्ता निर्ग नवीनले बताए । मंगलबार ३५ जना थपिएका छन् ।
उनीहरूले मंगलबार शान्तिवाटिकादेखि बालुवाटारसम्म ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर मार्च’ गरे । दिनभर बालुवाटारमा धर्ना बसेका पीडितहरूले मंगलबार पनि काठमाडौंको शान्तिवाटिकामै रात कटाएका छन् । बालबालिकासहित आन्दोलनमा सहभागी भएका पीडितलाई भने फिर्ता पठाएको संघर्ष समितिका प्रवक्ता नवीनले बताए ।
सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने पीडितले बताएका छन् । बुधबार दबाबस्वरूप संसद् भवन घेर्ने कार्यक्रम रहेको नवीनले जानकारी दिए । यसअघि मिटरब्याजपीडितसँग सरकारले गरेको सम्झौता अपूर्ण मात्र नभई अपर्याप्त भएको र सम्पूर्ण मिटरब्याजपीडितहरूलाई प्रतिनिधित्वसमेत नगराएको उनीहरूको आरोप छ । सरकारले गठन गरेको जाँचबुझ आयोग, यसअघि भएका विभिन्न सहमतिले मिटरब्याजपीडितलाई केही प्रभाव नपारेको संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले बताए । ‘फास्ट ट्र्याकबाट कानुन बन्नुपर्‍यो,’ उनले भने, ‘बिनाकानुनको आयोग गठनको औचित्य छैन ।’
सरकारले पटक–पटक, फरक समूहबीच वार्ता तथा सहमति गरेर पीडितलाई विभाजित गरेको समेत उनीहरूको आरोप छ । सरकारले नवलपरासीबाट आएका मिटरब्याजपीडितहरूसँग गत असोज १ मा गरेको पाँचबुँदे सहमति कार्यान्वयन नहुँदै ११ दिन पैदल महोत्तरीबाट आएका पीडितहरूसँग शनिबार अर्को पाँचबुँदे सहमति गरेको छ । सोमबार गठन भएको जाँचबुझ आयोगले सबै पीडितलाई समेट्न सक्नेमा विश्वस्त हुन नसक्ने बताएका छन् ।
यसैबीच, सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजको समस्या समाधान हुने भन्दै पीडितलाई घर फर्कन अनुरोध गरेकी छन् । विभिन्न जिल्लाबाट आएका अर्को पीडितको समूहलाई शर्माले मंगलबार पत्रकार सम्मेलनमार्फत घर फर्किन अनुरोध गरेकी हुन् ।

वाग्मती प्रदेश

रायो टिप्न भ्याइनभ्याइ

- केदार शिवाकोटी

(दोलखा)
मकैबारी गाउँ अब मकैबारी रहेन । नाम नफेरिए पनि गाउँको परिचय फेरिएको छ– सागबारीका रूपमा । टिप्न ठिक्क हरियो रायोको सागले लोभलाग्दो देखिएको छ, सिंगो गाउँ । एकातिर साग टिप्न किसानको चटारो छ भने अर्कोतर्फ बारीमै साग किन्न ठेकेदारहरू आइपुगेका छन्, जसले काठमाडौंको कालीमाटी र तराईका बजारसम्म पुर्‍याउँछन् ।
‘साग नपाइएला भनेर ठेकेदारले छर्ने बेलामै बैना दिएका थिए,’ स्थानीय किरण शाह भन्छन्, ‘बारीबाटै उनीहरूले प्रतिकिलो ४० देखि ५५ रुपैयाँमा लगिरहेका छन् ।’ यो साग राजधानी र तराईका बजारमा १२० देखि १५० रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ । ‘मैले यो वर्ष १५ रोपनीमा लगाएको छु, जसबाट ७ देखि ८ लाख रुपैयाँसम्म आम्दानी हुने देखिएको छ ।’
डेढ दशकअघिसम्म परम्परागत खेतीले गाउँलेलाई वर्षमा ३ महिना पनि छाक टार्न मुस्किल पर्थ्यो तर अहिले भीमेश्वर नगरपालिका–७ मा पर्ने मकैबारी गाउँले बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रका रूपमा परिचय बनाएको छ । किसानले तीन महिनाअघि छरेको रायो यतिखेर बजार लैजाने तरखर भइरहेको छ । यहाँका डेढ सय घरधुरीले रायो लगाएका छन् । चैतदेखि वैशाखसम्म रायोको साग टिप्ने चटारो हुन्छ । उच्च भेगको धान फल्ने खेतमा साग लगाएका लक्ष्मण बुढाथोकी पर्म लगाएर साग टिपिरहेको बताउँछन् । ‘रायो साग तीन पटकसम्म टिप्न मिल्छ, यतिखेर पहिलो चरणको टिप्ने काम भइरहेको छ,’ उनले भने ।
ठेकेदारहरू साग लिन बारीमै आउने गरेकाले बजारको समस्या नरहेको उनले बताए । यहाँका साग काठमाडौंको कालीमाटी तरकारी बजार र बीपी राजमार्ग हुँदै तराईका जिल्ला पुग्ने गरेको छ । यहाँका स्थानीय किसानले एक याममा रायोको सागबाट १ लाखदेखि १२ लाखसम्म आम्दानी गरेका छन् । ‘पानीको स्रोत भएर धेरै बारी भएका किसानले भाउ राम्रो आए ३ महिनामा १५ लाखसम्म थाप्छन्, थोरै हुनेले पनि १ लाख त कमाउँछन् नै,’ शाहले भने ।
पछिल्लो समय किसानको उत्पादनमा बिचौलिया हाबी भइरहेको उनको गुनासो छ । ‘हामीले एकतिहाइ मूल्यमा आफ्नो उत्पादन दिनुपर्छ,’ उनले भने, ‘हाम्रो हातमा खासै नाफा बस्दैन, बिचौलिया पोसाउने कामजस्तै लाग्न थालेको छ ।’

 

Page 9
अर्थ वाणिज्य

उद्योग वाणिज्य महासंघमा ६४ पदका लागि ११८ को उम्मेदवारी

- विमल खतिवडा

(काठमाडौं)
यही चैत २९ मा हुने नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदमा मंगलबारसम्म ११८ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक प्रदेश र द्विराष्ट्रिय सदस्य निर्विरोध भएका छन् ।
लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । द्विराष्ट्रिय सदस्यका लागि पनि नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनील केसीको मात्र उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भएका हुन् ।
चैत २९ को निर्वाचनका लागि मंगलबारसम्म अन्तिम उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जनाए । अन्तिम समयसम्म वरिष्ठ उपाध्यक्ष पदका लागि ३, जिल्ला/नगरतर्फका उपाध्यक्षका लागि ३, वस्तुगततर्फका उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फका उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगतर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशी प्रदेशमा १ सदस्यका लागि ३, मधेशमा १ सदस्यका लागि २, वाग्मतीमा १ सदस्यका लागि २ र गण्डकीमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा १ सदस्यका लागि ३ र सुदूरपश्चिम प्रदेशमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।
संस्थापक समूहबाट १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । निर्वाचन ६४ पदका लागि मात्र हुनेछ । ‘तर, मनोनीत, ७ वटा प्रदेशबाट निर्वाचित भइसकेका अध्यक्षलगायत केही सदस्यसहित कार्यसमिति भने ७७ सदस्यीय हुनेछ,’ उनले भने ।
तीनवर्षे कार्यकालका लागि एक वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले उक्त पदमा प्रतिस्पर्धा कडा हुने देखिएको हो । उम्मेदवारी दर्ताको अन्तिम दिन मंगलबार महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र वर्तमान वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले आआफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईले भने आइतबार नै प्यानल बनाएर उम्मेदवारी दर्ता गराइसकेका छन् । उमेशलालको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै अञ्जन श्रेष्ठको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फ उपाध्यक्षमा मनीषलाल प्रधान र एसोसिएटतर्फ उपाध्यक्षमा उमेशलालकै प्यानलका भरतराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी दर्ता गराएका हुन् ।
सुरुमा अञ्जनको प्यानलमा एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठलाई राखिएको थियो । पछि श्रेष्ठ संघईको प्यानलमा गएपछि उनको ठाउँमा प्रबलजंग पाण्डेलाई लिएर अञ्जन श्रेष्ठले प्यानल खडा गरेका थिए । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन मंगलबार फेरि पाण्डेले उमेशलाल श्रेष्ठकै प्यानलका आचार्यलाई समर्थन गर्दै उम्मेदवारी दिएनन् । सहमतिका लागि आफूले उम्मेदवारी दर्ता नगरेको पाण्डेको प्रतिक्रिया छ । उम्मेदवारको अन्तिम नामावली यही चैत २७ साँझ ५ बजे प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत पौडेलले जनाए । ‘यही समयभित्र दाबी विरोध गर्ने र उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्नेछन्,’ उनले भने ।
हाल जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ सदस्य, वस्तुगततर्फ १ सय २३, द्वि–राष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७ सय ६२ गरी २ हजार १८ सदस्य रहेको महासंघले जनाएको छ ।
महासंघको मतभार भने जिल्ला/नगर उद्योग संघको ५०, वस्तुगतको २०, द्वि–राष्ट्रिय र एसोसिएटको १५/१५ प्रतिशत छ । सदस्यले चालु आर्थिक वर्ष ०७९/८० सम्मको महासंघको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र बुझाएपछि मात्रै महासंघले अन्तिम सदस्यको नामावली प्रकाशन गर्छ ।
वार्षिक साधारणसभामा भाग लिन प्रतिनिधि शुल्कबापत संघ/संस्थाका लागि प्रतिव्यक्ति ३५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । उम्मेदवारी मनोनयनका लागि वरिष्ठ उपाध्यक्ष पदका लागि पाँच लाख रुपैयाँ कायम गरिएको छ । उपाध्यक्षका लागि तीन लाख रुपैयाँ र कार्यकारिणी समिति सदस्यका लागि ७५ हजार रुपैयाँ शुल्क छ ।
५६ औं वार्षिक साधारणसभापछि सदस्यता लिएकाले भने यस पटकको निर्वाचनमा मतदान गर्न नपाउने महासंघले जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान छ, यसअनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल आगामी वार्षिक साधारणसभाबाट अध्यक्ष बन्दै छन् ।

अर्थ वाणिज्य

नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

- कान्तिपुर संवाददाता

(काठमाडौं)
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमार्फत एडीबीले चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो । यसअघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेट्टाउन नसकेका बेला एडीबीले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरेको हो ।
सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।
राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेसँगै नेपालको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि सुस्त गतिमा भएको र अर्थतन्त्रको आन्तरिक मागमा कमी आएको एडीबीले जनाएको छ । विश्वव्यापी मन्दीले नेपालको पर्यटन क्षेत्रको विस्तार र
रेमिट्यान्स प्राप्ति प्रभावित भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि पुँजीगत खर्च बढाएर, उत्कृष्ट वित्तीय व्यवस्थापन र उत्कृष्ट परियोजनाका आधारमा आउँदा दिनमा नेपालको आर्थिक वृद्धिलाई टेवा दिन सकिने पनि एडीबीको विज्ञप्तिमा उल्लेख छ । सन् २०२३ मा नेपालमा कृषि क्षेत्रको वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण छ, जसअनुसार सन् २०२३ मा कृषि क्षेत्रको वृद्धिदर २ प्रतिशत रहने एडीबीले जनाएको छ । सन् २०२२ मा यो क्षेत्रको वृद्धिदर २.३ प्रतिशत थियो । यो वर्ष नेपालमा धान उत्पादन बढे पनि जाडो सिजनमा पानी परेकाले उक्त मौसमका बाली प्रभावित भएको एडीबीको तर्क छ । यो वर्ष नेपालको औद्योगिक क्षेत्र पनि प्रभावित भएको बताइएको छ । उच्च ब्याजदर वृद्धि, आयातमा प्रतिबन्ध, आन्तरिक उपभोगमा कमीलगायत कारण म्यानुफ्याक्चरिङ क्षेत्रको उत्पादन प्रभावित भएको छ ।
सेवा क्षेत्रको वृद्धि पनि ४.४ प्रतिशत हुने एडीबीले जनाएको छ । सन् २०२२ मा यस क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत थियो । राष्ट्र बैंकको कर्जा विस्तार नियन्त्रण गर्ने नीतिगत व्यवस्थाले ब्याजदरमा वृद्धि भएको, घरजग्गा व्यवसाय सुस्ताएको, थोक तथा खुद्रा व्यवसायमा कमी आएको पनि एडीबीले जनाएको छ । यद्यपि पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटक बढेकाले पर्यटन क्षेत्र बिस्तारै सुधार आउन थालेको छ । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति जारी गरे पनि सन् २०२३ मा नेपालको मुद्रास्फीति दर ७.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ ।

अर्थ वाणिज्य

पर्यटकले भरिए घोरेपानीका होटल

- घनश्याम खड्का

(म्याग्दी)
अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । चैत लागेसँगै प्रतिदिन ५ सय जना हाराहारीमा बाह्य र आन्तरिक पर्यटक भित्रिन थालेको व्यवसायी बताउँछन् ।
‘०७२ को भूकम्पपछि पर्यटक घट्न थालेका थिए । कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन । तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्,’ होटल व्यवसायी तारा गर्बुजा पुनले भनिन्, ‘कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।’ पर्यटकको संख्या बढेपछि व्यवसायी उत्साही छन् । पुनहिल भ्यु पोइन्ट र पर्यटकीय बस्ती घोरेपानी लालीगुराँसको जंगलभित्रको सानो बस्ती हो । घोरेपानीमा साना ठूला गरी ३० होटल तथा रेस्टुराँ छन् । तर यहाँका ५ वटा ठूला होटलले पूरै क्षमताको आधाभन्दा बढी पाहुना राख्ने गर्छन् । पर्यटक आवागमन बढेसँगै स्थानीय अन्नपूर्ण गाउँपालिकाले पुनहिल प्रवेश गर्ने पर्यटकसँग शुल्क लिन थालेको छ ।
पुनहिल प्रवेश तथा पुनहिलमा टी एन्ड कफी सप सञ्चालन गर्न स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित ५६ लाख ६० हजारमा ठेक्का लिएका छन् । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ र विदेशी पर्यटकलाई प्रतिव्यक्ति एक सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको उत्कृष्ट गन्तव्य हो । यहाँ सूर्योदयको दृश्य र धौलागिरि तथा अन्नपूर्ण हिमशृंखला नजिकैबाट हेर्न नेपाली मात्र होइन, संसारभरका पर्यटक आउने गरेको पर्यटन प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा रुटबाट दैनिक करिब ३ सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालयको भनाइ छ । भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । ‘घोरेपानी/पुनहिल आउने पर्यटकको संख्या बढेको छ । चैत लागेसँगै दिनको दुई सय हाराहारी विदेशी पर्यटकको रेकर्ड हामीसँग छ,’ पर्यटन प्रहरी कार्यालय घोरेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले भने, ‘एउटा रुटबाट साँझ अबेर आएर छेउको होटलमा बसेर अर्को रुटतर्फ लाग्यो भने हाम्रो रेकर्डमा छुट्न पनि सक्छ । नेपालीको अभिलेख राखिन्न ।’
यसैबीच सरकारले नेपालमा घुम्न आउने पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने नियम लगाएपछि घोरेपानी क्षेत्रका पर्यटन व्यवसायीले विरोध गरेका छन् । पर्यटक पदयात्रामा जाँदा अनिवार्य गाइड लैजाने नियमले ब्याकप्याक ट्रेक रुचाउने पर्यटक बिच्किने र पर्यटकीय रुटमा रहेका साना होटल, रेस्टुरेन्ट र टी हाउस मर्कामा पर्ने उनीहरूको दाबी छ ।
गाइडहरूले पर्यटकलाई अफर आउने ठूला होटलमा मात्र पर्यटक लैजाने भएकाले साना होटल मर्कामा पर्ने उनीहरूको गुनासो छ । ‘जुनसुकै क्षेत्रमा पनि अफरको कुराले प्रभावित बनाइहाल्छ । पर्यटक गाइडको भरमा हिँड्ने र गाइडले ठूला होटलको अफरमा चल्ने भएपछि साना व्यवसायी मर्छन्,’ घोरेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले भने, ‘साना होटलमा कि सस्ता पर्यटक बस्ने हो कि ठूला होटलमा प्याक भएपछि मात्र हो । कोरोनाले थला परेका साना व्यवसायीलाई सरकारी नीतिले झन् प्रताडित बनाएको छ ।’

Page 10
अर्थ वाणिज्य

दक्षिण एसियामा ५० हजार दक्ष जनशक्ति उत्पादन गर्दै हुवावे

- कान्तिपुर संवाददाता

(बंगलादेश)
चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावेले नेपालसहित दक्षिण एसियाली देशमा पाँच वर्षभित्र सूचना प्रविधि क्षेत्रमा ५० हजार दक्ष जनशक्ति निर्माण गर्ने बताएको छ । त्यसका लागि आईसीटी प्रतिष्ठान बनाउनुका साथै अनलाइन अध्ययनको व्यवस्था मिलाउने, नयाँ रोजगारी सिर्जना गर्ने, आईसीटीसम्बन्धी विभिन्न स्टार्टअप प्रतियोगिता आयोजनालगायत पहल गर्ने कम्पनीको दाबी छ ।
बंगलादेशको राजधानी ढाकास्थित हुवावे एकेडेमीमा सोमबार आयोजित ‘बिल्डिङ अ स्मार्ट ट्यालेन्ट इकोसिस्टम इन साउथ एसिया फर साउथ एसिया’ कार्यक्रममा हुवावे बंगलादेशका कन्ट्री डिरेक्टर कार्ल यु यिङले दक्षिण एसियाको मुख्य चुनौती भनेकै दक्ष जनशक्तिको अभाव रहेको बताए । २५ वर्षदेखि हुवावे यस क्षेत्रमा रहँदै आएको र आगामी दिनमा कम्पनीले दक्षिण एसियालाई थप प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।
‘दक्षिण एसियामा हाम्रा लागि सबैभन्दा ठूलो चुनौती भनेकै दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ कार्लले भने, ‘हामी केही उब्जाउन चाहन्छौं भने माटो उर्वर बनाउन मलजल गर्नैपर्छ भनेझैं दक्षिण एसियाली देशमा प्रविधि विकास गर्न हामीलाई दक्ष जनशक्ति चाहिन्छ । त्यसका लागि हुवावेले आवश्यक लगानी गरिरहेको छ । सन् २०२२ को अन्त्यसम्ममा हामीले विभिन्न देशका विश्वविद्यालयमा गरी २२ सय वटा आईसीटी एकेडेमी निर्माण गरेका थियौं । त्यहाँबाट वार्षिक २ लाख विद्यार्थीलाई सूचना प्रविधिसम्मबन्धी शिक्षा दिइरहेका छौं ।’
हुवावेले हालै मात्र ढाकामा दक्षिण एसियाका लागि क्षेत्रीय कार्यालय उद्घाटन गरेको कार्लले जानकारी दिए । नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशको प्रतिनिधित्व अब उक्त कार्यालयले गर्ने उनले बताए । ‘यी क्षेत्रबीच धेरै कुरामा समानता भएकाले हामीले यिनलाई एउटा समूहमा राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘स्थानीय जनशक्तिको सशक्तीकरण र उनीहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरी हामी दक्षिण एसियाको प्रविधि विकासमा सहभागी हुन चाहन्छौं ।’
सन् २०२१ मा सरकारी स्वामित्वको टेलिटक बंगलादेशलाई फाइभजी परीक्षणमा प्राविधिक सहयोग गरेको हुवावेले नेपालमा पनि फाइभजी विस्तारलाई आवश्यक उपकरण तथा सेवा उपलब्ध गराइरहेको कार्लको भनाइ छ । हाल बंगलादेशमा स्मार्ट बन्दरगाह, स्मार्ट ग्रिड, अटोमेसनलगायत क्षेत्रमा फाइभजीको उपयोगबारे अध्ययन र परीक्षण भइरहेको हुवावे टेक्नोलोजिज बंगलादेशका सिनियर म्यानेजर मोहम्मद तउफिकर रहमानले बताए ।
कार्यक्रममा उपस्थित टेलिकम क्षेत्रका स्थानीय जानकारहरूले फाइभजी सेवा विस्तारमा बंगलादेशी दूरसञ्चार सेवा प्रदायकहरू त्यति जुझारु रूपले लागिनपरेको अनुभव सुनाए । सबैभन्दा पहिले सन् २०१८ मा रोबी आजियाटाले बंगलादेशमा फाइभजी परीक्षण गरेको थियो । पाँच वर्षअघि नै फाइभजी सेवाको परीक्षण गरिएको भए पनि हालसम्म त्यसको व्यावसायिक सुरुवात नभएको र फोरजीसमेत गतिलो नचल्ने स्थानीयको गुनासो छ ।
‘यहाँका ४० प्रतिशत मानिससँग फोरजी चल्ने मोबाइल डिभाइस छ,’ प्रविधि पत्रकार मोहम्मदुल हसनले भने, ‘३ प्रतिशतसँग मात्रै फाइभजी चल्ने मोबाइल छ । अझै पनि धेरैजसो मानिस टूजी चलाउँछन् । यस्तोमा नयाँ प्रविधि ल्याउन यहाँका दूरसञ्चार सेवा प्रदायकले खासै चासो देखाएका छैनन् ।’ बजारको आवश्यकता अध्ययन नगरी र भएको सेवाको गुणस्तर सुधारमा भन्दा पनि होडबाजीमा फाइभजी सेवा सार्वजनिक गरिएकाले अहिले त्यो प्रयोगविहीन र अनावश्यक भइरहेको हसनको बुझाइ छ ।

अर्थ वाणिज्य

‘नागरिकतासँगै पान कार्ड दिने व्यवस्था गर’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरी युवाहरूलाई नागरिकता दिने बेला नै पान कार्ड पनि दिने व्यवस्था गर्न प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले मन्त्री महतलाई समयमै पान कार्ड दिने व्यवस्था गर्दा करको दायरा बढ्ने सुझाव दिएको हो ।
सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा मल्लले जोड दिए । बिल लिने/दिने व्यवस्था पनि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ । भेटमा अर्थमन्त्री महतले बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको बताए । ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गभर्नर महाप्रसाद अधिकारीलगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरें,’ उनले भने । लक्ष्यअनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरूसँग आफूले जानकारी लिएको र आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय समाउने उनको भनाइ छ । चेम्बरले महतसमक्ष ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने, पुँजीगत खर्चमा टाइम बाउन्ड एक्सन प्लान बनाई कार्यान्वयन गर्नुपर्ने, पुँजीगत खर्चको त्रैमासिक पुनरावलोकन गरी कार्यान्वयन गरिनुपर्ने, रेमिट्यान्सलाई ऊर्जालगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्नुपर्नेलगायत सुझाव दिएको छ ।

अर्थ वाणिज्य

नयाँ वर्षमा टीसीएलको ॅनगदवृष्टि’

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले नयाँ वर्षलाई लक्ष्य गर्दै ‘नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट तथा अप्लायन्स खरिद गर्दा आकर्षक नगद छुट र उपहार पाउने कम्पनीले जनाएको छ । ग्राहकका लागि यो योजना चैत १४ देखि सीमित अवधिका लागि देशभर लागू भएको कम्पनीले बताएको छ । ‘योजनाअन्तर्गत टीसीएलका सामान खरिदमा ग्राहकले नगद ६१ हजार ३ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजी एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन् ।’

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


बजारमा रेडमी नोट १२ र १२ प्रो फाइभजी
काठमाडौं (कास)– साओमीले नेपाली बजारमा रेडमी नोट १२ सिरिज सार्वजनिक गरेको छ । यस वर्ष रेडमी नोट १२ सिरिजअन्तर्गत रेडमी नोट १२ र रेडमी नोट १२ प्रो गरी दुई फोन समावेश छन् । उचित मूल्यमा नवीनतम प्रविधिका साथ दुई फोन बजारमा आएको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पन्डाले बताए । ‘फ्ल्यागसिप–लेभल स्पेसिफिकेसन समावेश रेडमी नोट १२ सिरिजमा उत्कृष्ट ब्याट्री ब्याकअप तथा क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन छ,’ उनले भने । ५ हजार एमएएच पावरको ब्याट्री जडित नोट १२ प्रो ५जी लामो समयसम्म चल्ने कम्पनीको दाबी छ । यो स्मार्टफोन ६७ वाटको चार्जिङ अडप्टरका साथ उपलब्ध हुनेछ । यसमा भएको फ्ल्यागसिप ६७ टर्बो चार्जिङ सुविधाले १५ मिनेटमै दिनभरका लागि पावर ब्याकअप प्रदान गर्ने कम्पनीले जनाएको छ । रेडमी नोट १२ तीन स्टोरेज भेरिएन्टमा उपलब्ध छ । ४ जीबी र १२८ जीबीको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ, ६ जीबी र १२८ जीबीमा २४ हजार ९ सय ९९ तथा ८ र १२८ जीबीमा २६ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको कम्पनीले बताएको छ । रेडमी नोट १२ प्रो फाइभजीको मूल्य ६ जीबी र १२८ जीबीमा ३८ हजार ९९९ रुपैयाँ, ८ जीबी र २५६ जीबीमा ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
टीभीएसको नयाँ वर्ष लक्षित अफर
काठमाडौं (कास)– टीभीएसले नयाँ वर्षको अवसर पारेर नगद छुटसहितका अफर ल्याएको छ । टीभीएसले आफ्ना हरेक मोटरसाइकल खरिदमा ८ हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट दिने जनाएको छ । स्कुटर खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा थप ५ हजार मूल्य बराबरको हेलमेट निःशुल्क दिइनेछ । शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा मोटरसाइकल एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार रुपैयाँ बढी भ्यालुएसन दिइने कम्पनीले जनाएको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार चैत १९ देखि सुरु भएको अफर सीमित अवधिका लागि छ । जगदम्बा मोटर्सका हाल देशभर १४० भन्दा बढी डिलर सञ्चालनमा छन् ।
काठमाडौं क्यान्सर सेन्टरको ॅगेट वेल सुन कार्ड’
काठमाडौं (कास)– काठमाडौं क्यान्सर सेन्टरले गेट वेल सुन कार्ड सुरु गरेको छ । बिरामी भेट्न आउने आफन्तले फलफूल वा अन्य उपहारको साटो गेट वेल सुन कार्ड दिए कार्डको मनी भ्यालु बराबरको छुट लिन सकिने अस्पतालकी व्यवस्थापक वर्षा कोइरालाले जनाइन् ।
माउन्टेन ड्युको ॅडरको अगाडि जित छ’
काठमाडौं (कास)– पेय पदार्थ माउन्टेन ड्युले प्रचारप्रसारका लागि ‘डरको अगाडि जित छ’ भन्ने नारालाई पुनः दोहोर्‍याएको छ । नेपाली युवालाई डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको यो प्रयासलाई निरन्तरता दिइएको कम्पनी पेप्सिको नेपालले जनाएको छ । डरसँग जुधेर, कठिनाइको सामना गर्दै सफलता चुम्न कम्पनीले हौसला दिँदै आएको पेप्सीको नेपालका वरिष्ठ मार्केटिङ डाइरेक्टर अनुज गोयलको दाबी छ ।
शैक्षिक उन्नयन गर्न यूएफएन र एनप्याब्सनबीच सम्झौता
काठमाडौं (कास)– युनाइडेट फाउन्डेसन नेपाल (यूएफएन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बीच शैक्षिक उन्यनसम्बन्धी सम्झौता भएको छ । रसुवा र नुवाकोटका सामुदायिक विद्यालयमध्ये कमजोर आर्थिक अवस्था भएका विद्यालयमा शैक्षिक एवं पूर्वाधार विकासका लागि यूएफएन र एनप्याब्सनबीच सहकार्य गर्ने सम्झौता भएको हो । त्यस्ता विद्यालयमा पूर्वाधार सुधार, कम्प्युटर ल्याब, व्यवस्थापन, शिक्षक व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, खानेपानी, सरसफाइलगायत उपलब्धताका लागि दुई संस्थाबीच सहकार्यको सम्झौता गरिएको यूएफएन र एनप्याब्सनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेटर होमका उत्कृष्ट रिटेलरलाई थाइल्यान्ड यात्रा
काठमाडौं (कास)– रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रालिअन्तर्गतको इलेक्ट्रोनिक र होम अप्लायन्स ब्रान्ड बेटर होमले आफ्ना उत्पादन सबैभन्दा धेरै बिक्री गरेका रिटेलरलाई थाइल्यान्डको पाँचदिने भ्रमण यात्रामा पठाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिक्री गर्ने रिटेलरलाई पुरस्कारस्वरूप भ्रमण यात्रा प्रदान गरिएको बेटर होम अप्लायन्सले जनाएको छ । ‘अहिलेको कठिन आर्थिक अवस्थाका बाबजुद रिटेलरहरूलाई आगामी वर्ष अझ राम्रो बिक्रीका लागि हौसला र प्रेरणा दिन चाहन्छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

Page 12
खेलकुद

भियतनामविरुद्ध उत्कृष्ट खेलको अपेक्षा

- राजु घिसिङ

(काठमाडौं)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबलमा कमजोर मानिएका दुई टिमलाई बोलाएको प्रतियोगिता ‘प्रधानमन्त्री त्रिदेशीय कप’ को उपाधि पूर्वानुमानअनुसार नेपाली पुरुष राष्ट्रिय टिमले जितेको चार दिनपछि बुधबार उही दशरथ रंगशामा महिला टिमले भने निकै बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दै छ । नेपाली महिला टिम २४ वर्षपछि विश्वकपमा पुगेको टिमविरुद्ध भिड्न लागेको हो ।
अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्वकप २०२३ मा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको टिम हो, भियतनाम । उसले गत वर्ष भएको प्लेअफमा थाइल्यान्ड र चाइनिज ताइपेइलाई पराजित गर्दै पहिलोपल्ट विश्वकपमा स्थान बनाएको थियो । प्रशिक्षक माई डुक चुङ सात वर्षयता सम्हालेको भियतनामी टिमले विश्वकपको समूह चणमा विश्वविजेता अमेरिका, चार वर्षअघिको उपविजेता नेदरल्यान्ड्स र युरोपेली टिम पोर्चुगलविरुद्ध खेल्ने पनि पक्का भइसकेको छ । भियतनामी महिला टिम छलाङ मार्नेक्रममा फिफा वरीयताको ३३ औं स्थानमा पुगेको छ । त्यसैले पेरिस ओलम्पिक २०२४ छनोटको पहिलो चरणमा बुधबार नेपाललाई घरेलु भूमि र दर्शकको साथमा कडा चुनौती दिन सक्नेछ ।
नेपालले सन् १९९९ मा फिलिपन्सिमा भएको एएफसी वुमेन्स एसियन कपमा विश्वकप खेलेको जापानी टिमको सामना गरेको थियो, जहाँ नेपाल निरीह रह्यो र १४–० ले हार्‍यो । सन् १९८६ मा एसियन कपबाटै अन्तर्राष्ट्रिय महिला फुटबलमा पाइला चालेको नेपालले विश्वकपको अनुभवी टिमको सामना गर्नुपरेको त्यही एकपल्ट हो । त्यसपछि नेपाली सिनियर महिला टिमले फुटबल खेल्नै छाड्यो, अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टाढियो । दक्षिण एसियाली खेलकुद (११ औं साग २०१०) मा फेरि प्रतिस्पर्धामा पुनरागमन गरेयता नेपालले विश्वकपमा पुगेको टिमविरुद्ध खेल्नुपरेको छैन । त्यसैले पुनरागमनयता नेपालको सबैभन्दा कठिन प्रतिद्वन्द्वीको रूपमा
भियतनाम आएको हो ।
‘भियतनाम विश्वकपमा छनोट भएको टिम हो, राम्रो टिम हो,’ नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले भने, ‘उसले नेपाल आउनुअघि पूर्वराष्ट्रिय खेलाडीको टिमसँग खेलेको थियो । उसका सबै खेललाई नियालेका छौं । सचेत भएर खेल्ने छौं । हामीले राम्रो तयारी पनि गरेका छौं । त्यसैले हाम्रो पक्षमा पहिलो चरण (ओलम्पिक छनोट) को नतिजा पार्नका लागि खेल्ने छौं ।’ उनको टिमलाई सेन्टर–ब्याकद्वय गीता राना र पुनम जर्घामगरको अनुपस्थितिले संकट पार्न सक्छ । संन्यास लिएकी पुनम शान्तिसेनामा देशबाहिर छिन् । गीता घुँडाको शल्यक्रियापछि रिकोभरीको प्रक्रियामै छन् ।
पुनरागमनपछि लय समातेकी सावित्रा भण्डारीको उपस्थितिले नेपाली टिमलाई राहत दिनसक्छ । भियतनामका प्रशिक्षक चुङ सावित्रासँग सचेत पनि छन् । ‘जर्सी नम्बर ९ (सावित्रा) उत्कृष्ट स्ट्राइकर हुन्,’ फिफा वरीयतामा १ सयौं स्थानमा रहेको नेपाली टिमबारे चुङले भने, ‘हामी (भियतनाम–नेपाल) पहिला कहिल्यै खेलेका छैनौं । तर, नेपालको खेल हेरेको छु, विश्लेषण गरेको छु । नेपालको खेलबाट आकर्षित भएको छु । नेपालले निकै प्रगति गरिरहेको छ । तर, हामी यहाँ जित्न आएका हौं ।’ पाहुना टिम पोर्चुगलको पहिलो श्रेणीको लिग खेलिरहेकी ह्युन न्ह्युको कप्तानीमा छ । उनी भियतनामी फुटबलकै सुपरस्टार हुन् र कीर्तिमान गोलकर्ता पनि ।
टोकियो ओलम्पिक २०२० को छनोटमा नेपाली टिम दोस्रो चरणसम्म पुगेको थियो । भियतनाम प्लेअफ चरणमै पुगेको थियो, जहाँ अस्ट्रेलियाविरुद्ध ‘दुई लेग’ को प्रतिस्पर्धामा ७–१ ले हारेपछि उसको ओलम्पिक खेल्ने सपना टुटेको थियो । भियतनामले ४ वर्षप्छि त्यो सपना ब्युँताउने मौका पाएको छ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि समूह ‘सी’ मा नेपाल र भियतनामबीच दुई लेगको आधारमा
प्रतिस्पर्धा हुन लागेको हो । बुधबारको खेल भियतनामको ‘होम म्याच’ हुनेछ भने शनिबारको नेपालको ‘घरेलु खेल’ हुनेछ । दुई खेलको समग्र नतिजा बराबरी
भएमा प्रतिस्पर्धा अतिरिक्त समय र पेनाल्टी
शुटआउटमा पुग्नेछ ।

खेलकुद

जावलाखेल शीर्षस्थानमा

- कान्तिपुर संवाददाता

(काठमाडौं)
जावलाखेल युवा क्लब एन्फा कम्प्लेक्समा मंगलबार छिमेकी सातदोबाटोलाई २–१ ले पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को शीर्षस्थानमा उक्लिएको छ ।
फोडे फोफनाले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि अग्रता लिएको जावलाखेललाई एन्कोतो मोसाबीले ५० औं मिनेटमा २–० ले अगाडि बढाए । करिअरकै उत्कृष्ट लयमा रहेका दीपकराज सिंह ठकुरीले ७५ औं मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि सातदोबाटोले हार टार्न सकेन । दोस्रो हारसँगै सातदोबाटो युवा क्लबले शीर्षस्थान गुमायो । चार जित, एक बराबरी र एक हारसँगै १३ अंक बनाएर जावलाखेल शीर्षस्थानमा उक्लियो ।
च्यासल रंगशालामा चर्च ब्वाइज युनाइटेडले दुई गोलको अग्रता लिएर पनि ३ अंक जोडन नसक्दा एनआरटीविरुद्ध २–२ खेल्दै अंक
बाँड्नुपर्यो । आशिष चौधरीले २० र अनन्त तामाङले ६२ औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएका थिए । रोहन खड्गीले ७१ औं मिनेटमा गोल गर्दै खेलमा फर्काएको एनआरटीलाई सरोज तामाङले इन्ज्युरी समयमा २–२ को बराबरीमा पुर्‍याएका थिए । तीन अंकमात्रै जोडेको एनआरटी पुछारबाट दोस्रोमा छ ।
तेस्रो बराबरीसँगै चर्च ब्वाइजले शीर्षस्थानमा उक्लिने अवसर पनि गुमायो । अपराजित रहँदै ६ खेलमा १२ अंक बनाएको चर्च ब्वाइज दोस्रोमा रह्यो भने सातदोबाटो (१२ अंक) तेस्रोमा झर्‍यो । एक खेल कम खेलेको मनाङ (५ खेलमा ११ अंक) शुक्रबार फ्रेन्ड्सविरुद्ध ३ अंक जोड्न नसके शीर्षस्थानमा पुग्नेछ ।

खेलकुद

सञ्जय र पुष्पा च्याम्पियन

- अर्जुन राजवंशी

(बिर्तामोड)
आर्मीका धावक सञ्जय श्रेष्ठ र एपीएफकी पुष्पा भण्डारीले सहारा हाफ म्याराथनको उपाधि जितेका छन् । बिर्तामोडस्थित चारपानेमा मंगलबार भएको हाफ म्याराथनमा ५ सय ३३ धावकलाई पछि पार्दै सञ्जय पुरुषतर्फ च्याम्पियन भए । उनले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गरे । केन्याली धावक सिमिओन किप्लागातो दोस्रा र आर्मीकै मोहनदेव जोशी तेस्रा भए ।
केन्याली धावकले सञ्जयभन्दा झन्डै एक मिनेट ढिला गर्दा १ घण्टा ७ मिनेट १७ सेकेन्ड लगाएए । तेस्रा भएका मोहन १ घण्टा ७ मिनेट २२ सेकेन्डमा दूरी पार गर्न सफल भए । विजेताले ५१ हजार, दोस्राले ३१ हजार र तेस्राले २१ हजार रुपैयाँ पाए । महिलातर्फ पुलिसकी रेखा विष्ट दोस्रा र सुमित्रा चौधरी तेस्रा भए । विजेता पुष्पाले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा दूरी पार गरेकी थिइन् । १३ औं सागकी रजत विजेता हुन् ।
दोस्राले १ घण्टा २४ मिनेट ३४ सेकेन्ड र सुमित्राले १ घण्टा २९ मिनेट ३० सेकेन्डमा दूरी पार गरे । महिलातर्फ विजेताले ५१ हजार, दोस्राले ३१ हजार र तेस्राले २१ हजार रुपैयाँ प्राप्त गरे । दुवैतर्फका चौथोदेखि दसौंसम्म आउनेलाई जनही ५ हजार प्रदान गरिएको थियो । चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्न् ो२८ औं स्थापना दिवसको अवसरमा हाफ म्याराथन गरेको सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । सोही अवसरमा नेपालका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, ओलम्पियन डम्बर कुँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई सम्मान गरिएको थियो । वैकुण्ठलाई २५ हजार, बुद्धवीरलाई ११ हजार तथा डम्बर र मेनुकालाई जनही ५ हजार र सम्मान पत्र प्रदान गरियो ।

खेलकुद

यू–१९ क्रिकेट आजदेखि

- कान्तिपुर संवाददाता

(पोखरा)
पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबारदेखि पोखरामा बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता हुँदै छ । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजनामा हुने प्रतियोगितामा देशभरका ६ क्रिकेट एकेडेमीले खेल्नेछन् । प्रतियोगिता चैत २७ सम्म हुनेछ । बलियो नेपालका वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलका अनुसार इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर प्रतिस्पर्धी हुँदै छन् । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेल हुनेछ ।
खेलक्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उद्देश्यअनुसार बलियो नेपालले ग्रासरुट क्रिकेटको प्रवर्द्धनका लागि ०७८ सालदेखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको बख्रेलले बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले यू–१९ का प्रतियोगिताहरू नभइरहेको अवस्थमा यो प्रतियोगिताले नयाँ खेलाडीको प्रतिभालाई उजागर गर्ने बताए ।

खेलकुद

वीर गणेशमान राष्ट्रिय बक्सिङ सुरु

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मधेश प्रदेशका लक्ष्मण राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार पुरुष ५१ केजीमा पुलिस क्लबका चन्द्रबहादुर थापालाई पराजित गरेका छन् ।
सोही स्पर्धामा वाग्मती प्रदेशका रविन थापाले लुम्बिनी प्रदेशका भरत पुन मगर, एपीएफका आश तामाङले सुदूरपश्चिम प्रदेशका चिरन्जीवी खड्का तथा कोशी प्रदेशका फुङलाङ काम्बाङले गण्डकी प्रदेशका रुकी
गुरुङलाई हराए ।
वीर गणेशमान सिंह खेलकुद समितिद्वारा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगिताको पुरुष ६३ केजीमा कोशीका बलबहादुर पुनले लुम्बिनीका नेत्रबहादुर थापालाई पाखा लगाए । पुरुष ६१ केजीमा मधेशका शशि शाक्यले कर्णालीका देवेन्द्र थापालाई रोके । प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।
त्यस अवसरमा भारतको नयाँदिल्लीमा भएको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर इतिहास रचेकी अञ्जनी तेलीलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा सात प्रदेश, पुलिस र एपीएफबाट १ सय ८ खेलाडी सहभागी छन् । पुरुष/महिलामा ६–६ तौल समावेश छ । हरेक स्पर्धाका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले साढे ७ हजार नगद पुरस्कार पाउनेछन् ।