You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

मुद्दा कमजोर बनाउने खेलमा प्रहरी

- कान्तिपुर संवाददाता

(काठमाडौं)
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपाली नागरिकसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहको मुद्दा कमजोर बनाउने प्रपञ्च सुरु भएको छ । गिरोहलाई संरक्षण गर्ने तथा गृह मन्त्रालयका गोप्य नीति–निर्णय उपलब्ध गराउने प्रशासनिक तथा राजनीतिक नेतृत्वलाई जोगाउन प्रहरीले फाइल नै कमजोर बनाउन लागेको हो ।
गिरोहमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा निरज रहेको कागजातबाट पुष्टि भएको छ । त्यस्तै थापाका छोरा प्रतीकविरुद्ध पनि उजुरी परेको छ भने हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले पनि ‘अन्जानवश’ सहयोग गरेको बताइसकेका छन् । उनका छोरा सन्दीपका नाममा गिरोहका सदस्यले काटेको चेकको प्रतिलिपि पनि प्रहरीले बरामद गरेको छ ।
गिरोहका चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरबाट अनुसन्धान भइरहेको छ । तर, केही राजनीतिक अगुवाको नाम खुलासा भए पनि गृहका दस्ताबेज गिरोहका हातमा पुर्‍याउने अधिकारीहरूमाथि पर्याप्त अनुसन्धान भएको छैन । उनीहरूलाई जोगाउने गरी फाइल बनाउन दबाब आएकाले अनुसन्धान साँघुरो हुन थालेको प्रहरी स्रोतको भनाइ छ । गिरोह नै बनाएर सरकारी कागजमा जालसाजी गर्ने, शरणार्थी बनाउँछौं भनेर झूटा आश्वासन दिने र सर्वसाधारणबाट पैसा संकलन गर्ने काममा कडा प्रावधानमा मुद्दा चल्छ । यस्तो अवस्थामा ‘संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र किर्ते’ का दफालाई टेकेर अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा प्रहरीले मुद्दा साँघुरो बनाउन खोजेको छ । तर, यति ठूलो अपराधमा पनि काठमाडौं प्रहरीले मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कानुन मात्रै लगाएर अनुसन्धान गरिरहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेपालीलाई शरणार्थी बनाउने खेल योजनाबद्ध देखिएको बताउँछन् । तर, अनुसन्धान काठमाडौं प्रहरीबाट भइरहेकाले थप विषय उतैबाट बुझ्न उनले आग्रह गरे । ‘यो ठगी प्रकरण पूर्वतयारीसहित व्यवस्थित र संगठित रूपमा भएको देखिन्छ,’ उनले भने, ‘केही व्यक्ति पक्राउ गरेर अपराध अनुसन्धान कार्यालयले काठमाडौं प्रहरीमा पठाइसकेको छ । उतैबाट अनुसन्धान जारी छ । यसबाहेक अनुसन्धानका विषयमा थप केही भन्न सकिँदैन ।’
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले अहिलेसम्म आरोपितविरुद्ध ठगीमै अनुसन्धान भइरहेको बताए । ‘अहिलेसम्म अरू कसुर आकर्षण हुने प्रमाण फेला परिनसकेको र अनुसन्धान टुंगोमा नपुगेका कारण पछि खुलेबमोजिम हुने गरी प्रहरी अघि बढेको छ,’ उनले भने । तर, नक्कली सरकारी कागज खडा गर्ने, नागरिकलाई अनागरिक बनाउने र तेस्रो मुलुक लग्ने उद्देश्यले पैसा संकलन गर्ने काममा ठगीबाहेक संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र किर्तेमा मुद्दा चलाउने आधार र आवश्यकतालाई प्रहरीले बेवास्ता गरेको छ ।
प्रहरीले हेरफेर गरिएका सरकारी दस्ताबेज, सर्वसाधारणबाट रकम संकलन गरिएका तथ्य तथा गिरोहका सदस्यहरूले एकापसलाई काटेका चेक र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपका नाममा काटेका डेढ करोडको चेकको प्रतिलिपि पनि बरामद गरेको छ । यो चेकसँग आफ्नो सरोकार नरहेको रायमाझीको भनाइ छ । ‘चेक तीन वर्षअघि काटिएको देखिन्छ, तर हामीलाई जानकारी छैन, काट्ने मान्छेले आफैं राखेको देखिन्छ । यस विषयमा अनुसन्धानबाट मात्र सत्यतथ्य खुल्ला, तर म र मेरो छोरालाई जानकारी छैन,’ उनले भने, ‘मैले भुटानी शरणार्थीको कल्याण होला भनेर मात्र त्यो समूहलाई सहयोग गरेको हुँ ।’
तर, प्रहरीले बरामद गरेका चेकको भुक्तानी, रकमको स्रोत, बैंकिङ कारोबार र लेनदेनको विषयमा अनुसन्धान गरेको छैन । प्रहरीले यो अनुसन्धान नगरेसम्म कति पीडितबाट कति रकम जम्मा गरिएको हो र वितरण कसरी गरिएको थियो भन्ने विस्तृत विवरण खुल्न असम्भव छ । यसमा राष्ट्र बैंकको सहयोगमा सजिलै अनुसन्धान गर्न सकिने भए पनि प्रहरीले यसतर्फ ध्यान दिएको छैन ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । यो कसुरमा मात्रै मुद्दा चलेमा आरोपितविरुद्धको अनुसन्धान २५ दिनभित्र टुंग्याइसक्नुपर्छ । तर, संगठित अपराधको अनुसन्धान भने अवधि ६० दिनसम्म हुन्छ । यो कसुरमा अनुसन्धान भएमा ठगीको दफामा हुने सजायबाहेक थप ५० प्रतिशत सजाय जोडिन्छ । त्यस्तै, अनुसन्धानको दायरा पनि फराकिलो हुन्छ । तर, प्रहरीले विस्तृत अनुसन्धानमा ध्यान दिएको छैन । ‘तीन/चार चरणमा जाहेरी आएकाले बयान पनि त्यहीअनुसार चरणबद्ध रूपमा भइरहेको छ, पक्राउ परेका आरोपितको एक चरणको बयान सकिएको छ,’ प्रहरीका एक अधिकारीले भने ।
शरणार्थी बनाउने खेलमा गृह मन्त्रालयका कागजात हेरफेर गरिएकाले अपराध संहिताको २७४ मा उल्लेखित लिखतसम्बन्धी कसुर पनि आकर्षित हुनुपर्ने हो । गृहबाट तयार हुने कागजात उपलब्ध गराउन मन्त्रालयकै अधिकारीहरूले सघाएको अनुमान छ । तर, अनुसन्धान किर्तेतर्फ प्रवेश नै भएको छैन ।
त्यस्तै, फर्जी कागजातका आधारमा शरणार्थी बनाएर सयौं युवालाई अमेरिका पठाउन लागिपरेको गिरोहविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार पनि अनुसन्धान हुन सक्ने आधार छ । यो कसुरको उद्योग गरेकामा आरोपितविरुद्ध अनुसन्धान हुन सक्नेमा त्यतातिर प्रहरी गएकै छैन ।
नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाइदिने भन्दै रकम असुल्ने गिरोहका दुलालको बयान प्रहरीले शुक्रबार लिएको छ । थुलुङ, गुरुङ र भण्डारीसँग पनि एक चरणको बयान सकिएको छ ।
सन् १९९० तिर भुटानबाट विस्थापित भएका र तिनका सन्तानमध्ये १ लाख १३ हजार शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा पुनर्वासमा गइसकेका छन् । तेस्रो देश जान अनिच्छुक ६ हजार ३ सय ६५ जनालाई नेपालमै कार्यसहमति दिने र पुनर्वास कार्यक्रममा छुटेका ४ सय २९ जनालाई पुनः प्रमाणीकरण गरेर परिचयपत्र दिने सरकारको निर्णय भएको थियो । तर, छुटपुटको नामवलीमा फर्जी नाम समेटिएको थियो ।

मुख्य पृष्ठ

एनओसीमा कडाइ गर्दै नयाँ निर्देशिका

- सुदीप कैनी

(काठमाडौं)
सरकारले विदेश पढ्न जान वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको छ । विदेश पढ्न जानेको संख्या बर्सेनि बढ्दै जाँदा अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटहीलगायत प्रक्रियामा कडाइ गरिएको हो ।
प्रधानमन्त्री तथा त्यसबेला शिक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका पुष्पकमल दाहालले गत फागुन १८ मा स्वीकृत गरेको निर्देशिकामा उच्च शिक्षा (स्नातक र त्यसभन्दा माथि) अध्ययनका लागि मात्रै एनओसी दिने उल्लेख छ । पछिल्ला वर्ष भाषा, तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी लिएर विदेशिनेको संख्या बढ्दै गएको तथ्यांक छ । गत वर्ष १ लाखभन्दा बढीले एनओसी लिएका थिए, जसमा ३० प्रतिशतभन्दा बढी यस्ता कोर्सका लागि बाहिरिएका थिए ।
एनओसीलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी र विदेशी मुद्रा सटहीलाई व्यवस्थित गर्न मन्त्रालयले निर्देशिका जारी गरेको उच्च शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीले बताए । ‘पूर्णतया अनलाइनबाटै एनओसी सेवा दिन लागेका छौं, विद्यार्थी आवेदन दिन, शुल्क बुझाउन र अनुमतिपत्र लिन कार्यालय आउनु पर्दैन,’ उनले भने, ‘नीतिगत निर्णयका लागि केन्द्रमा परामर्श समिति रहने व्यवस्था गरिएको छ ।’
गत वर्षदेखि नै एनओसीका लागि अनलाइन आवेदन र अनलाइन भुक्तानी दिने व्यवस्था गरिएको थियो । अनुमतिपत्र लिन भने विद्यार्थी मन्त्रालय आउनुपर्ने अवस्था थियो । निर्देशिका लागू भएपछि विद्यार्थीले अनलाइनबाटै अनुमतिपत्र प्रिन्ट गरेर लिन सक्ने काप्रीले जनाए । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्र बैंक, अध्यागमन विभाग र विश्वविद्यालयबीच अनलाइन नेटवर्किङ गर्न लागिएको छ । उक्त काम सकिएपछि निर्देशिका लागू गरिने मन्त्रालयले जनायो । स्वीकृत भएको ३१ औं दिनपछि निर्देशिका लागू हुने भनिएको थियो । शिक्षा नियमावलीको व्यवस्थाअनुसार नै अहिलेसम्म वैदेशिक अध्ययन अनुमतिपत्र जारी हुँदै आएको छ ।
निर्देशिका स्वीकृत भएपछि वैदेशिक शिक्षा परामर्शदाता (कन्सल्टेन्सी) हरूले भने असन्तुष्टि जनाएका छन् । उच्च शिक्षासँग सम्बन्धित भाषा, पूर्वयोग्यता र ब्रिज कोर्सका लागि त्यसको व्यहोरा खुलाएर मात्र स्वीकृति लिन पाइने व्यवस्था गरिएको छ । यस्तो कोर्स अध्ययनको कारण, आधार र शिक्षण संस्थाको प्रबन्ध उल्लेख गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । अध्ययन गर्न जान खोजेको शैक्षिक संस्था तथा कार्यक्रमलाई नेपालको विश्वविद्यालयले मान्यता दिने व्यवस्था भई सूचीकृत भएको हुनुपर्ने व्यवस्था छ ।
शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखाका प्रमुखको संयोजकत्वमा रहने परामर्श समितिले यस्ता शिक्षण संस्था सूचीकृत गर्नेछ । समितिमा त्रिविका पाठ्यक्रम विकास केन्द्रका निर्देशक, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, राष्ट्र बैंकका उपसचिवलगायत सदस्य रहनेछन् । शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलले विदेश पढ्न जाने विद्यार्थीलाई रोक्ने नियतले निर्देशिका जारी गरिएको जनाए ।

विषयगत काउन्सिलमा दर्ता हुनुपर्ने विषयका हकमा काउन्सिलमा दर्ता भएको प्रमाणपत्र संलग्न गरे मात्र एनओसीका लागि आवेदन दिन पाउने प्रावधान राखिएको छ । चिकित्सा शिक्षाका एमबीबीएस, नर्सिङ, फार्मेसीलगायत विषय अध्ययन गर्न जान लाइसेन्स अनिवार्य गरिसकिएको छ । एनओसी प्राप्त गरिसकेपछि शिक्षण संस्था र शैक्षिक कार्यक्रम परिवर्तन गर्नुपरेमा त्यसअघि सटही गरेको विदेशी मुद्रा फिर्ता गरेको प्रमाणसहित पुनः आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि एउटा कार्यक्रम र शिक्षण संस्था देखाएर विद्यार्थी अन्यत्रै भर्ना हुने गरेको पाइएको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका कर्मचारीहरू बताउँछन् । हालसम्म संसारभरका १ सय ६ वटा देशका साढे १० हजार शिक्षण संस्थामा नेपाली विद्यार्थीलाई अध्ययन गर्न अनुमति दिइसकिएको छ ।
परामर्शदातामार्फत विदेश जान चाहने विद्यार्थीले परामर्शदाताको सिफारिसपत्रसमेत आवेदनमा संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ । परामर्शदाताले कतिपय अवस्थामा अनियमितता गरेको समेत भेटिएकाले यस्तो गरिएको कर्मचारीहरूको भनाइ छ । तर, उक्त प्रावधानले परामर्शदाताहरू हच्किएका छन् । मन्त्रालयसँग कति परामर्शदाता छन् भन्ने यकिन तथ्यांकसमेत नहुँदा उनीहरूले मनोमानी गर्ने मौका पाएको सञ्चालकहरू नै बताउँछन् । झूटा विवरण पेस गरे त्यस्ता व्यक्ति र सहयोगीलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउने निर्देशिकाको व्यवस्थाले कन्सल्टेन्सीहरू सबैभन्दा बढी त्रसित बनेका छन् । आफ्नै प्रयासमा अध्ययन गर्न जाने विद्यार्थीले भने स्वघोषणा उल्लेख गरे पुग्ने निर्देशिकामा उल्लेख छ । कतिपय अवस्थामा नक्कली कागजातसमेत पेस हुने भएकाले राजदूतावास वा कूटनीतिक नियोग, सम्बन्धित शिक्षण संस्था, कार्यालय र पदाधिकारीसँग पत्राचार वा इमेल वा टेलिफोन गरी जाँचबुझ गर्न सकिने व्यवस्था गरिएको छ ।
एनओसी प्राप्त गरेर विदेशी शैक्षिक संस्थामा अध्ययन पूरा गरे पनि त्यसलाई मान्यता दिन वा उपाधिको स्तर निर्धारण गर्न विद्यार्थीले दाबी गर्न नपाउने निर्देशिकामा उल्लेख छ । ‘विदेशी शैक्षिक संस्थामा अध्ययन गरी प्राप्त भएको उपाधिको मान्यता दिन वा त्यस्तो उपाधिको स्तर निर्धारण गर्न नेपाल सरकार वा सम्बद्ध निकाय बाध्य हुने छैन,’ निर्देशिकामा भनिएको छ । विदेशमा पढेर फर्केका विद्यार्थीलाई समकक्षता दिने विषयमा यसअघि पनि बेलाबेला विवाद हुँदै आएको छ ।
विद्यालय तहको अध्ययनका लागि स्वीकृति दिन भने निर्देशिकाले पूर्ण रोक लगाएको छ । नेपाली नागरिक पेसा, व्यवसाय र रोजगारीका लागि विदेशमा रहेको अवस्थामा भने मुद्रा सटहीको सुविधा नमाग्ने गरी मन्त्रालयले अनुमति दिन सकिने व्यवस्था गरिएको छ । तर नेपालमा सञ्चालित विदेशी विद्यालयले स्वतः नेपाली विद्यार्थी पढाउन पाउने प्रावधान राखिएको छ । कूटनीतिक नियोगले मात्रै विद्यालय सञ्चालन गर्न पाउने शिक्षा ऐनको व्यवस्था रहे पनि मन्त्रालयले दबाबमा विद्यालयलाई अनुमति दिएको छ ।
यहाँ सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयका कलेजको हकमा नेपाली विद्यार्थी पढाउन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउन सक्ने जनाइएको छ । स्वदेश वा विदेशमा गुरुकुल, मदरसा, गुम्बाजस्ता धार्मिक तथा परम्परागत शिक्षा हासिल गरी विदेशमा अतिरिक्त शिक्षा हासिल गर्न जान चाहनेलाई परामर्श समितिको सिफारिसमा मात्र अनुमति दिन सकिने व्यवस्था लागू गरिएको हो ।
नेपाल परामर्श संघका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले निर्देशिकाका कतिपय दफा आपत्तिजनक रहेको औंल्याए । स्नातक तहभन्दा मुनि एनओसी नदिने र उच्च शिक्षालाई मात्र दिने, डिप्लोमा पढ्न जानेलाई नदिने, परामर्शदाताले सिफारिस पत्र दिनुपर्ने र विदेश जानुअघि यहाँको परीक्षा पास गरेको हुनुपर्ने व्यवस्था अव्यावहारिक रहेको उनको भनाइ छ । ‘पढेर फर्केपछि काउन्सिलको परीक्षा लिनुपर्ने हो,’ उनले भने ।

मुख्य पृष्ठ

हिमालमा आँप

- राजबहादुर शाही

(मुगु)
भूगोल र जलवायुअनुकूल तराईमा फल्ने आँप हिमाली जिल्लामा लटरम्म फल्दा मुगुको खत्याडका बासिन्दा दंग परेका छन् । मुगु कर्णालीको हिमाली जिल्ला हो । यहाँको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका गंगाराम गिरीको बारीमा यतिबेला लटरम्म आँप फुलेको छ ।
गत वर्ष पहिलोपल्ट उनले बारीमा झन्डै ५ क्विन्टल आँप उत्पादन गरेका थिए । बिरुवा लगाएको ५ वर्षपछि आँप फल्दा उनी निकै उत्साही छन् । ‘पहिले आरु, केरा, ओखरलगायत फल्थ्यो,’ उनले भने, ‘गाउँमा फल्छ कि फल्दैन भनेर सामान किन्न नेपालगन्ज गएका बेला ख्यालैख्यालमा आँपको बिरुवा ल्याएको थिएँ, अहिले लटरम्म फलेको छ, खुसी छु ।’
उनकै छिमेकी सन्तु गिरीले पनि ५ वर्षअघि नै तराईमा फल्ने आँपको बिरुवा परीक्षणका लागि गाउँमा ल्याएका थिए ।

‘यसअघि आँप ल्याउन तराई झर्नुपर्थ्यो,’ उनले भने, ‘अब त गाउँमा फलेको आँप तराई पठाउन पाइने भयो,’ उनले भने । मुगुको बेंसी मानिने सुकाढिक समुद्र सतहदेखि झन्डै १२ सय मिटर उचाइमा छ । १ सय ५६ घरधुरी रहेको गाउँका अधिकांश स्थानीयले आरु र ओखरका बोट काटेर अहिले धमाधम आँपका बिरुवा लगाउन थालेका छन् । गाउँमै तराईमा फल्ने आँप, मेवा, अम्बा, अनारलगायत फलफूल उत्पादन हुन थालेपछि स्थानीयको आयआर्जनमा वृद्धि भएको कमला बुढाले बताइन् । उनका अनुसार उत्पादित फलफूल गम्था, माझझचौर, सदरमुकाम गमगढी, बाजुराको कोल्टी बजारलगायत ठाउँ जान थालेको छ । गत वर्ष झन्डै ३० क्विन्टल अम्बा बिक्री गरेर ९० हजार रुपैयाँ आम्दानी भएको उनले बताइन् । गत वर्ष ३० रुपैयाँ प्रतिकिलो अम्बा बिक्री भएको थियो ।

 

Page 2
म्यागेजिन

नेपालगन्जका महादानीहरू

- जे पाण्डे

(बाँके)
माघको पहिलो साता गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्री नेपालगन्ज सहरबाट झन्डै ७ किलोमिटर पूर्वको असमानपुरस्थित जयन्दु बालसुधारगृह निरीक्षणमा पुगेका थिए । चार बिघाभन्दा बढी क्षेत्रफलमा रहेको गृह एउटै व्यक्तिले दान दिएको जग्गामा बनेको थाहा पाएपछि उनले आश्चर्य माने । एकाध आना र धुर जग्गाका लागि मारामार चल्ने समयमा यतिका धेरै जग्गा कसले दियो होला भनेर उनले सोधीखोजी गरे । दाताको वृत्तान्त सुनेपछि उनले भने, ‘महान रहेछन् ।’
यति धेरै जायजेथा दिन सक्ने दानवीर हुन्, नेपालगन्जका ५८ वर्षीय जयकेश सिंह । सीमावर्ती रुपैडिहाको नेहरू स्मारक इन्टरकलेजमा कक्षा १० मा पढ्दा जयकेशको परिवार आर्थिक संकटमा थियो । सन् १९८० मा स्कुल फी तिर्न सय रुपैयाँ नहुँदा आफूले हरेस खाएको उनी अझै पनि सम्झिराख्छन् । त्यतिबेला बाबु तप्तबहादुरले अनेकतिर हारगुहार गरेर ३५ रुपैयाँ खोजिदिए । बाँकी पैसा भने विद्यालयले बेहोर्‍यो । यही पुरानो घटनाले जयकेशलाई पैसाको महत्त्व मात्रै बुझाइदिएन, समाजका लागि केही गर्न जरुरी छ भन्ने पनि बुझाइदियो ।
उनले पढाइ रोकिन दिएनन् । सन् २०१२ मा शिक्षा शास्त्रमा एमए गरे । खोज्दै जाने हो भने सिंहका पुर्खाहरू भारतको आगरानजिक मैनपुर राज्यका राजारजौटा रहेको खुल्छ । झन्डै ५ सय वर्ष पहिले औरंगजेबको अत्याचार सहन नसक्दा शरण खोज्दै उनका पुर्खाहरू बाँके आएर घनघोर जंगली क्षेत्र रहेको असमानपुर, सूर्जपुर, सुन्दरपुर र परसनपुरका चार मौजामा बसे । यो त्यतिबेलाको कुरा हो, जतिबेला नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसमेत प्राप्त गरिसकेको थिएन । पुर्खाहरूको यो संघर्षबारे जानकार सिंहले सुनाए, ‘कति बेला के हुन्छ ? जिन्दगी कुन मोडमा पुग्छ भन्ने टुंगो छैन । त्यसैले समाजप्रति समर्पित हुने बाटो रोज्नु नै उपयुक्त लाग्यो ।’
सेवा मार्गमा मिल्ने आनन्द बेग्लै रहेको बताउने जयकेशले २०६७ भदौ ६ मा १५ करोड मूल्यबराबरको ४ बिघा २ कट्ठा जमिन बालसुधार गृहलाई दान दिँदा निकै चर्चा भयो । धेरैले उनको निर्णयमा अचम्म मात्रै मानेनन्, कतिले त झट्टै विश्वास पनि गरेनन् । ‘मानव कल्याण नै सबैभन्दा ठूलो पुँजी हो, जुन कहिलै नासिँदैन, सकिँदैन’ भन्ने उच्च आदर्शलाई आफूले अनुसरण गरेको बताउने जयकेशले भने, ‘मृत्युपछि पनि मानिस जीवन्त रहन सक्नुपर्छ । त्यही सोचका साथ सबै दान दिएँ ।’
बालबिझाइँका घटनामा नाबालिगलाई कानुनले जेल पठाउँदैन । कसुरको अवस्थाअनुसार सुधारगृह पठाउँछ । नेपालगन्जमा सुधारगृह निर्माणको योजना बनेको थियो । तर, आवश्यक जग्गा व्यवस्थापन गरिएको थिएन । त्यही बेला जयकेश अघि सरेर दान दिने निर्णय गरे । उनी र पत्नी इन्दुको नाम जोडेर सरकारले डुडुवा गाउँपालिका–६ को असमानपुरमा जयेन्दु बालसुधार गृह निर्माण गरेको छ । जुन देशका अन्य ८ वटामध्ये सुधारगृहभन्दा व्यवस्थित र भव्य छ । २ सय ५० जना क्षमताको छ । सिंह सुधारगृहमा आइपुग्ने बालकहरू भविष्यका असल नागरिक बनेर फर्केको देख्न चाहन्छन् । उनी आफैं त्यहाँ रहेकाहरूले खानबस्न र पढ्न पाएका छन् कि छैनन् भनेर बारम्बार चासो राख्छन् । भन्छन्, ‘एक–दुई दिन बिराएर गइरहन्छु । सुधारगृहमा नपुगेसम्म उनलाई निद्रा लाग्दैन ।’ अहिले सामाजिक सेवामा खटिनेबाहेक सिहसँग कुनै पेसा, व्यवसाय छैन । उनले अहिलेसम्म दान दिएकोमध्ये ३ बिघा जमिन पनि पुर्खौली सम्पत्ति हो भने १ बिघा १२ कट्ठा बाबुछोराको कमाइ हो ।
जयकेशको दान यात्रा यतिमै रोकिएन । मृत्युपछि पनि समाजमा आफ्नो पहिचान छाडेर जाने चाहना राख्ने उनले २०७९ वैशाख १४ मा अलिकति बचेको १० कट्ठा जमिन र घर पनि वृद्धाश्रमका नाममा दान दिए । नेपालगन्ज–९ चारबाहिनी अड्डा अगाडिको पौने ७ धुर (११६ वर्गमिटर) जग्गामा बनेको पुरानो घरमा बस्दै आएका निःसन्तान सिंह दम्पती त्यहीँ बुढ्यौली गुजार्ने योजनामा छन् । सिंहको घरको भुइँतलामा मेडिकल छ । त्यसकै भाडाबापत आउने मासिक २० हजार रुपैयाँले जीवन धानिरहेका छन् । महादानको यात्राबाट खुसी मिलेको बताउने उनीहरू सामान्य जीवनयापन गर्छन् । समाजलाई कुनै सरसहयोग चाहिए खटिएर लागिहाल्छन् ।
समाजमा भ्रष्टाचार र अनुचित ढंगले अकुत सम्पत्ति कमाउने होडबाजी तीव्र छ । यस्तो दौडमा जयकेशले अंगालेको सतकर्मले मानवता जीवित रहेको संकेत गर्छ । ‘यस्ता मानिस विरलै भेटिन्छन्,’ उपसचिव खत्रीले भने, ‘आफू वृद्धाश्रममा बस्ने गरी भएको घरजग्गा र सम्पत्ति कसले दान दिन सक्छ ? मेरो कल्पनाभन्दा बाहिरको कुरा हो ।’
िि
िनेपालगन्जमा दानवीरको नाम लिँदा नछुट्ने नाममध्ये कप्तान फत्तेजंग शाह र उनकी पत्नी बालदिव्यश्वरी हुन् । २०३८/३९ सालतिर बालदिव्यश्वरीको आँखामा समस्या देखियो । त्यतिबेला आँखाका रोगको उपचार न नेपालगन्जमा सहज थियो, न त काठमाडौंमा । धेरै भौंतारिएपछि उनीहरूले भारतको सीतापुरस्थित अस्पताल पुगेर उपचार गराए । त्यो खर्च र दुःखले उनीहरूलाई भारतबाट फर्केपछि नेपालगन्जमा आँखा अस्पताल खोल्ने निर्णय पुर्‍यायो । अनि २०४२ फागुन ११ मा नेपालगन्जको फुटेग्रास्थित २० कोठाको राणाकालीन भव्यमहल र एक बिघा ६ कट्ठा साढे ७ धुर जग्गा आँखा अस्पताललाई दिए । जसको अहिलेको चलनचल्तीको मूल्य १० करोडभन्दा बढी छ । जहाँ अहिले २ सय ५० शय्याको फत्तेवाल आँखा अस्पताल ठडिएको छ ।
यिनै दानवीर दम्पतीको बाटो पछ्याए छोराबुहारी श्रीजंग र रुद्रकुमारीले । बाबुको सत्मार्ग पछ्याउँदै श्रीजंग दम्पतीले २०७४ फागुन ३ मा काठमाडौं कान्तिपथको होटल एलो प्यागोडासँग जोडिएको कित्ता नम्बर ११२३ र ११२४ को ३ रोपनी ३ आना जग्गासँगै घर श्रीकुञ्ज फत्तेवाल
आँखा अस्पताललाई नै दान दिए । अहिलेको चलनचल्तीको उक्त घर जग्गाको मूल्य करिब २ अर्ब रुपैयाँ पर्ने अस्पतालले जनाएको छ । राजनीतिशास्त्रअन्तर्गत कूटनीति र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर श्रीजंगको समाज सेवाप्रतिको लगावमा सारथि थिइन् पत्नी रुद्रकुमारी । जसको २०३९ चैत २० मा निधन भयो ।
फत्तेवाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्मा श्रीजंग र रुद्रकुमारीलाई आँखाको ज्योतिभन्दा फरक नपर्ने बताउँछन् । उनले भने ‘श्रीजंगमा समाजलाई योगदान गर्नुपर्छ भन्ने पवित्र भावना छ । यस्ता मानिस कमै छन् ।’ एक अर्बभन्दा बढी मूल्यको घरजग्गा दान दिँदा श्रीजंगले आफ्नै सन्तानसँग कानुनी लडाइँ लडेका थिए । जग्गादान दिन लागेको थाहा पाएपछि श्रीजंगलाई ‘मानसिक सन्तुलन ठीक नभएको’ प्रमाणित गरी जग्गा हत्याउने दाउपेच चलेको थियो । त्यसका लागि २०७४ मा चिकित्सकबाट ‘नक्कली प्रमाण’ जुटाउँदै दान दिनबाट रोक्ने प्रयासमा उनकी छोरी ईश्वरी राणा अग्रसर भएकी थिइन् । जबकि अथाह सम्पत्तिका मालिक सुवर्णशमशेरका छोरा रुक्मशमशेरसँग विवाह गरेकी छोरीले तत्कालीन प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीका मुख्य सचिवलाई भनसुन गरेर मालपोत कार्यालयबाट घरजग्गा दान दिन नपाउने गरी २०७४ असोज ३० मा रोक्का गराएकी थिइन् ।
श्रीजंगले यो घटनाबारे आफ्नो आत्मकथा ‘कथा मेरो जीवनको’ मा विस्तृत रूपमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म त झसंग भए । कसले रोक्यो मेरो सम्पत्ति ? स्तब्ध भएँ । सीडीओलाई सोध्दा माथिको आदेश भने । त्यो
बेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । उनलाई पनि भेट्न गएँ । भेट दिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान
आयोगमा पुगें । प्रमुख दीप बस्न्यातले प्रधानमन्त्रीको कार्यालयबाट आएको आदेश भने । पछि थाहा भयो सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले सारा सम्पत्ति रोक्का गरिदिनू भनेर आदेश गरेका रहेछन् ।’
यस्तो रहस्य चाल पाएका श्रीजंग वीर अस्पताल पुगे । स्वास्थ्य परीक्षण गराए । मानसिक र शारीरिक रूपमा स्वस्थ भएको प्रमाणपत्र वीर अस्पतालले दियो । त्यही प्रमाण लगेर अदालतमा जग्गा दान दिन पाउनुपर्ने भन्दै उभिए । प्रबन्ध निर्देशक कौशल कुमारले सुनाए, ‘२०७४ कात्तिकमा न्यायाधीशले निरोगी भएको फैसला सुनाए । त्यसपछि मात्रै अस्पताललाई जग्गा दान दिन सफल हुनुभएको थियो ।’ यसरी आफ्नै सन्तानसँग कानुनी लडाइँ लडेर महादानी भए श्रीजंग । नेपालगन्जले भव्य रूपमा नागरिक अभिनन्दन गरेको थियो । पछिल्ला ४/५ महिनादेखि श्रीजंगको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।
श्रवण शक्ति कम हुँदै गएको छ । अस्पतालले उनको शेषपछि मात्र उक्त घरजग्गा भोग गर्न पाउने छ । बस्न अर्को घर नभएकाले ९९ वर्षीय श्रीजंग हाल दान दिएकै घरमा बस्दै आएका छन् । सारा सम्पत्ति दान दिएका उनलाई अहिले स्याहारसुसार गर्ने आफन्त छैनन् । अस्पतालका अनुसार दुई नर्स र दुई कामदारले उनको रेखदेख गर्दै आएका छन् ।
अहिले भारतको बहराइच, गोन्डा, गोरखपुर, सीतापुर, बाराबंकी, लखनउ, अयोध्या, फौजावाद, सुल्तानपुरजस्ता सहरबाट ठूलो सख्यामा बिरामीहरू उपचार खोज्दै फत्तेबाल आँखा अस्पताल आउँछन् । भारतमा भन्दा सस्तो र राम्रो उपचार हुने भएकाले फैजावादबाट मोतियाबिन्दुको शल्यक्रिया गर्न आएका छोटु खान घर फर्किने तरखरमा थिए । उनले सुनाए, ‘मैले त यो सरकारी अस्पताल होला भन्ने सोचेको थिएँ । तर एउटा व्यक्तिले दानको जगमा उठेको अस्पताल हो भन्ने थाहा पाउँदा पत्यारै लागेन । यस्तो काम त ठूलै दिलवालाले मात्र गर्न सक्छ ।’ गैरनाफामूलक तथा गैरसरकारी अस्पतालका रूपमा सञ्चालित यो अस्पतालबाट अहिले दैनिक ४/५ सयले सेवा प्राप्त गर्छन् भने वार्षिक १ लाख ४० हजारभन्दा बढीले आँखासम्बन्धी विभिन्न रोगको उपचारको सेवा पाइरहेका छन् ।
श्रीजंगका भान्जा डा. धवलशमशेर राणाले मामाको सम्मानमा नगरप्रमुख हुँदा त्रिवेणी मोडदेखि पूर्व फुलटेग्रा जाने मार्गलाई ‘फत्तेवाल आँखा अस्पताल मार्ग’ नामकरण गर्न चाहेका थिए । धवलको चाहना भने अधुरै छ ।
िि
िनेपालगन्जले सम्झिने अर्को दानवीर औतारदेइ कसौधन चौधराइन हुन् । विसं १९५४ मा भारतको गोन्डमा जन्मेकी चौधराइनको २०२८ भदौ ६ मा ७४ वर्षको उमेरमा निधन भएको थियो । तर दिवंगत भएको यतिका वर्षपछिसम्म पनि नेपालगन्जमा उनलाई सम्झिने धेरै छन् । चौधराइनले स्थानीय नारायण माविलाई झन्डै साढे ५ कट्ठा, २००७ मा महेन्द्र बहुमुखी क्याम्पसलाई १३ बिघा, भेरी अस्पताललाई ५ कट्ठा र जिल्ला जनस्वास्थ्य कार्यालयलाई ३ कट्ठा जग्गा दान गरेर शिक्षा, स्वास्थ्य र समाज सेवामा योगदान गरेकी थिइन् । ‘उनले स्कुललाई जग्गा दान दिएकाले नेपालगन्जमा शिक्षाको उज्यालो फैलन सघायो,’ नारायण माविका प्रधानाध्यापक तरुण गौतमले भने, ‘उनको दया र त्यागको जगमा ठडिएको स्कुलबाट सामाजिक र शैक्षिक क्रान्ति ल्याउन सघाएको छ ।’
नेपालगन्जका लक्ष्मीनारायण चौधरीसँग विवाह गरेर आएकी उनले समाजमा शिक्षा विकासका लागि कैयन् प्रयास गरेकी थिइन् । आफूले पढ्न पाएकी थिइनन्, तर उनले शिक्षाको महत्त्व बुझेकी थिइन् । ‘पुण्यकर्मले उनलाई समाजमा चीरकालसम्म स्मरणीय बनाएको छ,’ उनका बारेमा जानकारी राख्ने पत्रकार विजयकुमार बर्मा भन्छन्, ‘आफू पढन नपाए पनि नेपालगन्जमा शिक्षामा उनको योगदान अतुलनीय छ ।’
योगदानको सम्मानस्वरूप भेरी अस्पताल अगाडि औतारदेइको सालिक छ । सालिकको अनावरण २०७० असोज १३ मा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले गरेका हुन् ।
निःसन्तान भएकाले औतारदेइ नेपालगन्जमा दान दिएकोबाहेक शेष केही छैन । जति छन् उनले दिएको योगदानको चर्चा र प्रशंसक मात्र । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य भन्छन्, ‘धेरै सम्पत्ति दान दिनुभयो । केही बिक्री गर्नुभयो । अहिले उहाँको घरबाससमेत छैन ।’

Page 3
समाचार

कोभिडले अवरुद्ध व्यापार अघि बढाइने

- लक्ष्मी लम्साल,जगदीश्वर पाण्डे

(बेइजिङ/काठमाडौं)

दुईपक्षीय सहयोगलाई थप विस्तार र सुदृढ बनाउने निष्कर्ष निकाल्दै नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक शुक्रबार बेइजिङमा सकिएको छ ।
संयन्त्रको बैठकमा दुवै पक्षले विद्यमान नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा समीक्षा गरेका हुन् । ‘द्विपक्षीय भ्रमणसहित विभिन्न क्षेत्रमा गरिने सहयोगलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे छलफल भएको छ,’ बैठकपछि बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संयन्त्रको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहित दूतावासका अन्य पदाधिकारी नेपालका तर्फबाट बैठकमा सहभागी थिए । चीनका तर्फबाट उपविदेश मन्त्री सुन विइतोङले नेतृत्व गरेका थिए ।
बैठकमा आर्थिक सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार गर्ने तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
दूतावासका अनुसार बैठकमा चीनका उपविदेशमन्त्री सुनले नेपाल एक चीन नीतिप्रति निरन्तर अडिग रहेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको सम्मान गरेकामा प्रशंसा गरे । परराष्ट्र सचिव पौड्यालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति बिनाहस्तक्षेप सम्मान गर्ने चिनियाँ नीतिको प्रशंसा गरेका थिए ।
बैठकले चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगतिको समीक्षा गरिएको थियो । साथै, चिनियाँ सहयोग तथा लगानीमा नेपालमा निर्माण भइरहेका पूर्वाधारहरू समयमै सम्पन्न गर्नका लागि ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने द्विपक्षीय सहमति भएको हो । व्यापार घाटा कम गर्ने उद्देश्यले परराष्ट्र सचिव पौड्यालले नेपाली प्राथमिक उत्पादनहरू चिया, कफी, जडीबुटी, पकाएको भैंसीको मासुलगायतलाई प्राथमिकता दिन प्रस्ताव गरेका थिए । चिनियाँ पक्षले चिनियाँ लगानीकर्तालाई पारस्परिक हितका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सहमत भएको नेपाली दूतावासले जनाएको छ ।
सामूहिक पर्यटनका लागि बाहिरी गन्तव्य मुलुकको सूचीमा नेपाललाई राखेकामा परराष्ट्र सचिव पौड्यालले चीन सरकारको प्रशंसा गरे । दुई पक्षबीच जनसम्पर्क र सांस्कृतिक सहयोग प्रवर्द्धन, नेपाली विद्यार्थी तथा पेसाकर्मीलाई छात्रवृत्तिको संख्या बढाउने, प्राविधिक विज्ञहरूको क्षमता विकासलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । कोभिड–१९ का कारण विगत तीन वर्षदेखि अवरुद्ध नेपाल र चीनबीचको व्यापार, व्यवसायलाई सक्रिय रूपमा अघि बढाउने दुई मुलुकबीच सहमति भएको छ । चीनको स्वशासित क्षेत्र ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा चीनले रसुवागढी–केरुङ नाका सुचारु गर्ने गरेको प्रतिबद्धता जनाएको थियो । त्यहीअनुसार चैत १८ बाट केरुङ–रसुवागढी सीमा व्यापार र जनताको आवतजावत हुने गरी नाका खुल्यो । चीनको शून्य कोभिड–१९ नीतिका कारण उत्तरी नाकामार्फत हुने व्यापारमा अवरोध थियो । साथै, चीनले तातोपानी नाका पनि दुईतर्फी व्यापार गर्न र आवतजावतका लागि आगामी वैशाख १८ देखि खोल्ने नेपाल पक्षसँग प्रतिबद्धता गरिसकेको छ ।

जीडीआई कार्यान्वयनमा चासो
संयन्त्रको बैठकमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) को कार्यान्वयनबारे पनि छलफल गरिएको थियो । २०२१ सेप्टेम्बरमा भएको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले जीडीआईबारे पहिलो पटक प्रस्ताव गरेका थिए । जीडीआई परियोजना संयुक्त राष्ट्रसंघको दीर्घकालीन विकास लक्ष्य–२०३० लाई पूरा गर्नका लागि परिपूरकको भूमिका खेल्ने गरी अघि बढाइएको छ । त्यहीअनुसार संयुक्त राष्ट्रसंघको सहकार्यमा चीनले यसलाई कार्यान्वयनमा लगेको हो । संयन्त्रको बैठकमा दुवै पक्षले संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चहरूमा दुई देशबीचको सहकार्य र एकअर्काको उम्मेदवारीमा पारस्परिक सहयोग आदानप्रदानबारे समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरूको कार्यान्वयनको महत्त्व र दिगो विकासका लक्ष्य (एसडीजी) एजेन्डा प्रवर्द्धन गर्न जीडीआईको उपयोगिताबारे पनि छलफल गरेका हुन् ।
यसअन्तर्गत नेपालमा खाद्य सुरक्षा र गरिबी निवारणका क्षेत्रमा दुई परियोजना छन् । खाद्य सुरक्षामा ‘नेपाल स्माइलिङ प्रोजेक्ट’ र अर्को गरिबी निवारणसम्बन्धी परियोजना दुर्गम भेगका विद्यालय र समुदायमा महामारी रोकथाम तथा पुनःस्थापनासम्बन्धी हो । न्युयोर्कमा २०२२ सेप्टेम्बरमा भएको यूएनको महासभामा चीनका तत्कालीन विदेशमन्त्री वाङ यीले नेपाललगायत ५० मुलुकमा जीडीआईअन्तर्गत कार्यक्रम सञ्चालन हुने उल्लेख गरेका थिए । त्यस बेला चिनियाँ विदेश मन्त्रालयले जीडीआईअन्तर्गत नेपालमा हुने पहिलो परियोजना ‘नेपाल स्माइलिङ प्रोजेक्ट’ रहेको उल्लेख गर्दै नेपालका विपन्न समुदायका ३६ सय बालबालिकालाई खाद्यान्न उपलब्ध गराउने उल्लेख छ । चिनियाँ गैरसरकारी संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले खाद्यान्नको व्यवस्था मिलाउने भनिएको छ । चीनका दुई सरकारी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी र चिनियाँ वाणिज्य मन्त्रालय उक्त परियोजना कार्यान्वयन गर्ने मुख्य निकाय हुन् । पहिलो परियोजना नेपालमा अघि बढिसकेको छ । गत असारमा नेपाल भ्रमणका बेला चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्छाओले काठमाडौंको शान्ति निकुञ्जका विद्यार्थीलाई खाना खुवाएर ‘नेपाल स्माइलिङ प्रोजेक्ट’ को उद्घाटन गरेका थिए ।
यस्तै, दुर्गम भेगका विद्यालय र समुदायमा महामारी रोकथाम तथा पुनःस्थापनासम्बन्धी अर्को परियोजना सञ्चालन चीनका दुई सरकारी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी र चिनियाँ वाणिज्य मन्त्रालयले गर्ने उल्लेख छ । साथै, यसमा संयुक्त राष्ट्रसंघीय विकास नियोग (यूएनडीपी) पनि कार्यान्वयन गर्ने मुख्य निकाय हो । ‘जीडीआईअन्तर्गतका परियोजनाको कार्यान्वयनका बारेमा छलफल भयो,’ बैठकमा उपस्थित एक प्रतिनिधिले भने ।
चीनले अघि सारेको सुरक्षासम्बन्धी कार्यक्रम ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) बारे भने अध्ययन गर्नुपर्ने नेपालले बताएको छ । बैठकमा सहभागी एक प्रतिनिधिका अनुसार नेपालले यी दुवै विषय नयाँ भएको र अध्ययनपछि मात्र चिनियाँ पक्षलाई जवाफ दिने जानकारी दिएको बताए । सीले २०२२ अप्रिल २१ मा वार्षिक रूपमा हुने बोआओ फोरम फर साउथ एसियालाई सम्बोधन गर्ने क्रममा प्रस्ताव गरेको जीएसआई र २०२३ मार्च १६ मा सीपीसी केन्द्रीय समितिमा जीसीआईको प्रस्ताव राखेका थिए । चीनले यही फेब्रुअरी २१ मा पहिलो पटक सुरक्षा कार्यक्रम जीएसआईको अवधारणापत्र सार्वजनिक गरेको थियो ।

बीआरआईमा अस्पष्टता
उक्त संयन्त्रको बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रस्ट रूपमा छलफल नभएको सहभागी प्रतिनिधिले बताए । चीनले सन् २०१३ मा बीआरआई ल्याएको थियो । नेपाल र चीनबीच २०१७ मेमा बीआरआईको साझेदारी पक्षमा हस्ताक्षर भएको थियो । नेपालका तर्फबाट बीआरआईमा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बेइजिङमा पुगेर हस्ताक्षर गरेका थिए । सुरुवातमा नेपालले बीआरआई परियोजनाअन्तर्गत ३५ वटा परियोजनाका सूची चीनलाई पठाएको थियो । तर, बेइजिङले ‘वान डिजिट’ को संख्यामा ल्याउन भनेपछि नौ परियोजना मात्र पठाइएको थियो । चीनले नेपाललाई पछिल्लो समय बीआरआईको कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरे पनि नेपालले त्यसलाई स्वीकार गरिसकेको छैन । नेपालले बीआरआईमार्फत सहुलियत ऋण र अनुदान पाउनका लागि आग्रह गरिरहेको छ । विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त हुने ऋणभन्दा चीनबाट बढी प्रतिशतमा ऋण लिएर अघि नबढ्ने नेपालले जानकारी दिइसकेको छ । नेपाल सरकारले बीआरआईमार्फत सहुलियत ऋण र अनुदान मात्र लिने जनाएको छ । जसलाई लिएर चिनियाँ अधिकारीले नेपालमा बीआरआईलाई लिएर प्रस्ट नभएको उल्लेख गरेको छ ।
चिनियाँ परराष्ट्रमन्त्री छिन् काङले २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धमा गतिशीलता आएको बताए । सीको भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि चिनियाँ पक्ष अग्रसर भइरहेको तर्फ आश्वस्त तुल्याउँदै उनले भने, ‘राष्ट्रपति सीको नेपाल भ्रमणबाट आपसी सहयोगका आयाम विस्तृत हुनुका साथै तत्कालीन सहमतिमा टेकेर अघि बढ्ने पहल भइरहेको छ ।’ छिन्ले संयन्त्रको बैठकमा सहभागी हुन गएको नेपाली टोलीसँग बिहीबार भेटवार्ताका क्रममा उक्त कुरा बताएकी हुन् । भेटमा परराष्ट्र सचिव पौड्यालले चिनियाँ राष्ट्रपति सीको तेस्रो कार्यकालमा पनि आपसी सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । उनले ‘एक चीन नीति’ प्रति नेपाल प्रतिबद्ध रहेकामा आश्वस्त पार्दै चीनविरोधी गतिविधिमा नेपाली भूमि प्रयोग हुन नदिनेमा नेपाल सतर्क रहेको जानकारी गराए ।

समाचार

निगमको अध्ययन गर्न समिति गठन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– झन्डै ५० अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीको संयोजकत्वका शुक्रबार समिति गठन गरेको छ । समितिमा निगमबाट अवकाशप्राप्त पाइलट ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पीयूष आनन्द, ग्यालेक्सी टेलिभिजनका सीईओ टीकाराम राई र सहारा न्यौपाने सदस्य छन् । निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले दुई महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नुपर्नेछ । निगमको ५ वर्षको अवस्था अध्ययन गर्दै, ऋण, दायित्व, नीतिगत तथा कानुनी पक्ष अध्ययन गर्नुपर्ने जिम्मेवारी समितिलाई तोकिएको छ । त्यस्तै निगमको व्यवस्थापकीय पक्ष सुधार गर्न कस्तो व्यवस्थापन आवश्यक पर्ने हो, पुनःसंरचना कसरी गर्नुपर्नेलगायत ८ वटा विषयमा अध्ययन गर्ने मन्त्री सुदन किरातीले बताएका छन् । निगमको व्यवस्थापकीय सुधार गर्न प्रजातन्त्र बहाली भएयता मन्त्रीस्तरीय र मन्त्रिपरिषद्बाट हालसम्म कम्तीमा १० वटा अध्ययन समिति तथा आयोग गठन भई प्रतिवेदन बुझाइसकेका छन् ।

समाचार

नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बतीयन शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकताको प्रमाणपत्रसहित तिब्बतमा जन्म भई शरणार्थीको रूपमा काठमाडौं बौद्ध तुसाल
बस्ने २७ वर्षीया युवती पक्राउ परेकी हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गुरुङलाई बिहीबार बौद्धबाट पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । उनी तिब्बतबाट भारतको बिहार र दिल्ली हुँदै २ वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नेपाली नागरिक कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको र कटुवालले नेपाली नागरिकता दिलाएबापत ५ लाख रुपैयाँ लिएको समेत खुलेको छ । गुरुङलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको एसपी रेग्मीले बताए ।
यसअघि प्रहरीले तिब्बतीयन शरणार्थीलाई नागरिकता बनाइदिने गिरोहका कटुवालसहित ५ जनालाई पक्राउ गरी कारबाही थालेको छ । गिरोहले सरकारी कार्यालयको कागजात, छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी झूटा लिखत र नक्कली सिफारिस बनाएर नक्कली बुबासमेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता बनाइदिने गरेको थियो ।

 

Page 4
वाग्मती प्रदेश

सुकुम्बासीको प्रतिकारले रोकियो महानगरको डोजर

- कान्तिपुर संवाददाता

(काठमाडौं)
काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन खोजेपछि त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । गैरीगाउँको वाग्मती करिडोरस्थित सुकुम्बासी बस्ती हटाउन शुक्रबार डोजरसहित नगर प्रहरी लिएर गएको महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिएका छन् ।
संरचना हटाउन महानगरले बल प्रयोग गर्न खोजेपछि उनीहरूले नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका थिए । उक्त क्षेत्रमा करिब ३ सयभन्दा बढी अवैध संरचना रहेको वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीले जानकारी दिए । मेयर बालेन्द्र शाहको ठाडो आदेशमा नगर प्रहरी परिचालन गरी संरचना हटाउन खोजिएको उनको भनाइ छ । ‘अवैध संरचना भएकाले हामीले हटाउन खोजेका थियौं, तनावग्रस्त अवस्था बनेपछि ब्याक भयौं,’ उनले कान्तिपुरसँग भने ।
सुकुम्बासीहरूले टायर बालेर प्रदर्शन गरेपछि उक्त क्षेत्रमा शुक्रबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । वडाध्यक्ष भण्डारीले सडक र खोलादेखिको बीच भागको खाली जग्गा अतिक्रमण भएको बताए । त्यस क्षेत्रमा जग्गा नभएका केही प्रतिशत मानिस भए पनि अधिकांश अन्यत्र घरसम्पत्ति भएकाहरू नै रहेको उनको दाबी छ । ‘त्यहाँ हुकुम्बासी पनि छन्, केहीचाहिँ घरसम्पत्ति केही नभएका पनि छन्,’ उनले भने । वडा नम्बर ३१ मा पनि ४ सयभन्दा बढी अवैध संरचना निर्माण गरेर बसोबास रहेको वडा सदस्य अशोक केसी खत्रीले जानकारी दिए ।
अव्यवस्थित रूपमा नदी क्षेत्रको जमिन अतिक्रमण गरी संरचना बनाएर बसोबास गर्दै आएको महानगरको भनाइ छ । प्रवक्ता नवीन मानन्धरले घोषित नीतिअनुसार नै अव्यवस्थित संरचना हटाउन खोजिएको बताए । ‘महानगरपालिकाको नीति तथा कार्यक्रममै अव्यवस्थित संरचना हटाउने, सचेत गराउने र जुनसुकै बेला भत्काउन सक्ने भनिएको छ,’ उनले भने ।

Page 5
अर्थ वाणिज्य

एक वर्षमा खाद्यान्नको मूल्य किलोमै २६० रुपैयाँसम्म बढ्यो

- राजु चौधरी

(काठमाडौं)
सुकेधारा तरकारी बजारमा शुक्रबार भेटिएका पार्वत तिमिल्सिनालाई पछिल्लो समय घरखर्च धान्ने पिरलो छ । उनले गरिरहेको जागिरबाट आउने मासिक आम्दानी करिब २५ हजार रुपैयाँ हो । तर बजारमा बढेको महँगीले खर्च धान्न मुस्किल छ । ‘एक सय रुपैयाँले तरकारी एक छाक पुग्दैन । अन्य खाद्यान्नको भाउ पनि उस्तै महँगो छ । तलबले कोठा भाडा तिर्नु कि खाना खर्च पुर्‍याउनु, बडो चिन्ता हुन्छ,’ उनले भने, ‘गाउँबाटै पैसा मगाएरसमेत डेरा भाडा तिर्ने गरेको छु ।’
मैतीदेवीमा डेरा गरी बस्ने सागर भट्टको पीडा पनि उस्तै छ । उनले पनि खर्च धान्न गाउँबाट पैसा मगाउनुपरेको सुनाए । ‘हरेक वस्तुमा महँगी अचाक्ली छ । सरकारले ठुल्ठूला कुरा गरे पनि महँगीको मारमा सर्वसाधारण पिल्सिएका छन्,’ उनले भने, ‘महँगीले राज्य नभएको महसुस हुन्छ ।’
उल्लिखित व्यक्ति महँगीको मारमा परेर समस्या भोगिरहेका उदाहरण मात्र हुन् । पछिल्लो समय हरेक वस्तुको मूल्य अकासिएको छ । खाद्यवस्तु छोइनसक्नु छ । सर्वसाधारण अतालिएका छन् ।
एक वर्षमा खाद्यान्नको मूल्य किलोमै कम्तीमा १० देखि २६० रुपैयाँसम्म बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकले पनि महँगी बढेको देखाएको छ । ०७९ माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ । यसरी निरन्तरको मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकिएको छ । तर सरकार मौन छ ।
‘बजारमा मूल्यमा मनोमानी छ, व्यापारीले बैंकको ब्याजदर देखाएर लुटिरहेका छन् । तर सरकार आफैंले बजारभाउ निर्धारण गर्ने भनेर चुप बसेको छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘अनुगमन भए पनि कागजमा मात्रै भएको छ ।’
एक वर्षमा चामलको मूल्य किलोमा ४० रुपैयाँसम्म बढेको संघको तथ्यांक छ । ०७८ चैतमा प्रतिकिलो १३५ रहेको लङ ग्रेन बास्मती बढेर १७५ रुपैयाँ, त्रिशूली पोखरेली चामल ९० बाट बढेर १०५ रुपैयाँ र स्टिम सोना चामल प्रतिकिलो ५५ बाट बढेर ६५ रुपैयाँ पुगेको छ । एक वर्षमा ताइचिन चिउराको मूल्य प्रतिकिलो १३० बाट बढेर १७० रुपैयाँ, एनपी रहर दाल १८० बाट बढेर २१० रुपैयाँ, खुर्सानी पाउडर ४७५ बाट बढेर ५५० रुपैयाँ पुगेको छ । जिरा पाउडर ५२५ बाट बढेर ७८० रुपैयाँ, सेतो भटमास १४० बाट बढेर १६० रुपैयाँ, कालो भटमास २०० बाट २८० रुपैयाँ पुगेको छ ।
एक वर्षअघि प्रतिकिलो १६० रहेको काबुली चना बढेर १९५ रुपैयाँ, १०५ रहेको सानो केराउ बढेर २२५ रुपैयाँ, २९० रहेको कैलो तिल बढेर ३१५ रुपैयाँ, ६० रहेको मैदा बढेर ८५ रुपैयाँ र ४८० रहेको जिरा ७४० रुपैयाँ पुगेको छ । यी वस्तुबाहेक दूध र दुग्ध पदार्थको मूल्यमा पनि मनोमानी भाउ छ । सरकारले किसानको मूल्य ८ रुपैयाँ ८६ पैसा बढाउँदा दूधमा उपभोक्ता मूल्य १६ रुपैयाँसम्म बढेको छ । दुग्ध पदार्थमा पनि अचाक्ली मूल्य वृद्धि गरिएको छ । डेरीपिच्छे फरक मूल्य छ । तर अनुगमन भएको छैन ।
चामललगायतको मूल्यवृद्धि भएको संघका अध्यक्ष पवित्र बज्राचार्यले स्विकारे । मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय कारण भएको उनको दाबी छ । ‘भारतले चामलमा निर्यात कर २० प्रतिशत लगायो तर त्योभन्दा बढी मूल्यवृद्धि भएको छ । डलरको भाउ बढ्दा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको छ,’ उनले भने ।
केन्द्रमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यको अनुगमन गर्दै आएको छ । तर अनुगमन स्रोतमा भन्दा खुद्रामा केन्द्रित हुने गर्छ । स्रोतमा अनुगमन गर्न प्रयास गर्दा महानिर्देशककै सरुवासमेत हुने गरेको छ । जसले गर्दा बजारमा सुधार हुन नसकेको जानकारहरू बताउँछन् । ‘पछिल्लो समय हुने अनुगमन भनेको घुम्ने मात्रै हो । बजार शृंखलाको अनुगमन गर्नुपर्नेमा निश्चित खुद्रा पसलमा मात्रै गएर झारा टार्ने काम भएको छ,’ अध्यक्ष बानियाँले भने, ‘जसले गर्दा बजारमा बर्सेनि महँगी बढेको हो ।’
संयुक्त सरकारका तर्फबाट आफ्ना प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महँगी, तस्करी, कृत्रिम अभाव, कालोबजारी, खाद्यवस्तुहरूमा मिसावट र वस्तु तथा सेवामा हुने सिन्डिकेट अन्त्य गर्ने बताएकी छन् । ‘सबै प्रकारका वस्तु र सेवाको मूल्यमा सरकारले नियमन गर्नेछ । नापतौलमा ठग्ने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्नेमाथि सख्त कारबाही र उपभोक्ताको हितका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनेछौं,’ शुक्रबार सार्वजनिक सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै उनले भनेकी छन् । तर सरकारको कार्यक्रम घोषणामा मात्रै सीमित हुने गरेको छ ।
‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अनुगमन गर्ने निकायलाई स्वार्थ समूहले बोकेका छन्, जसले गर्दा बजार सुधार हुन सकेन, उपभोक्ताका मुद्दा कमजोर भएका छन् । अनुगमन प्रभावकारी हुन सकेको छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘महँगी नियन्त्रण गर्ने दायित्व सरकारको हो । तर जिम्मेवारीबाट ऊ पन्छिएको छ ।’
रुस र युक्रेनबीच भएको युद्धले बजारमा केही प्रभाव पारे पनि केन्द्रबाट संयुक्त अनुगमन नहुँदा ठगी बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक कृष्णहरि बाँस्कोटाको दाबी छ । खाद्य क्षेत्रमा देखिएको बिचौलिया निरुत्साहित गर्न सके मूल्य घटाउन सकिने उनको भनाइ छ । विभागका प्रवक्ता होमनाथ भट्टराई भने बजार अनुगमन निरन्तर भइरहेको बताउँछन् । ‘अनुगमन नियमित भइरहेकै छ । पछिल्लो समय धेरै कर्मचारी सरुवा भए, जसले गर्दा अनुगमनका लागि अभाव भएको छ,’ उनले भने ।

अर्थ वाणिज्य

विमानस्थल सञ्चालन माग गर्दै धर्ना

- कान्तिपुर संवाददाता


भैरहवा (कास)– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएपछि निजी क्षेत्रले विरोध सुरु गरेको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारी पक्षबाट चासो नदिइएको भन्दै शुक्रबार तीन दर्जनभन्दा धेरै निजी क्षेत्र सम्बद्ध विभिन्न संस्थाले विमानस्थलअगाडि धर्ना दिएर विरोध गरेका हुन् । विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायको ध्यानाकर्षण गर्दै निजी व्यावसायिक संस्थाले संयुक्त रूपमा विमानस्थलको मुख्य प्रवेशद्वारमा बिहान साढे १० देखि साढे १२ बजेसम्म धर्ना दिए ।
विमानस्थल निर्माणका क्रममा मुलुकको ४० अर्ब रुपैयाँभन्दा धेरै लगानी भएको छ । विमानस्थललाई पछ्याउँदै त्यसको दश गुणा बढी निजी क्षेत्रको लगानी छ । विमानस्थललाई केन्द्रित गरी अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायी संकटमा परेको चेम्बर अफ कमर्स रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

Page 6
समाचार

'अनुसन्धानको निचोडमा जो परे पनि कारबाही हुनेछ’

- कान्तिपुर संवाददाता


गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोह सञ्चालन गर्ने जोकोहीका विरुद्ध कडाइका साथ अनुसन्धान र कारबाही प्रक्रियामा अघि बढाउन निर्देशन दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसीसहित घटना अनुसन्धानमा संलग्न अधिकारीसँग ‘शरणार्थी बनाउने गिरोह’ का बारे सिंहदरबारमा ‘ब्रिफिङ’ लिएपछि शुक्रबार कान्तिपुरसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले भने, ‘यो गिरोहका बारेमा प्रहरीले जारी राखेको अनुसन्धानले छिट्टै निचोड निकाल्नेछ, जो परे पनि कारबाही हुन्छ, यसमा तलमाथि हुनेछैन ।’ मन्त्री श्रेष्ठसँगको संक्षिप्त वार्ता ः

ॅनेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने’ भन्ने सपना बेच्दै गिरोह सञ्चालन गरिरहेका व्यक्तिबारे खुलासा भएपछिको अबको अनुसन्धान/कारबाही प्रक्रिया कस्तो हुनेछ ?
यो गम्भीर मामलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रारम्भिक अनुसन्धान गरेपछि गिरोहमा संलग्न व्यक्तिको सरकारी वकिल कार्यालयमा बयान जारी रहेको अवस्था छ । यसमा कुनै पनि दोषी नछुट्ने गरी कडाभन्दा कडा कारबाही अघि बढ्नेछ, त्यहीअनुसारको निर्देशन दिएको छु । भुटानी शरणार्थीका नाममा भइरहेको यो गलत कदमबारे अब सम्बद्ध सबै पक्ष जानकार भइसकेको छ । यसको बाँकी अनुसन्धान र कारबाही प्रक्रियामा तदारुकतासाथ अघि बढ्छ ।
झन्डै ५ वर्षयता सञ्चालन हुँदै आएको गिरोहमा प्रत्यक्ष/परोक्ष गृह मन्त्रालयका कर्मचारी र पूर्वमन्त्री, सचिवसमेतको संलग्नता देखिएको छ । यो अवस्थामा कुनै प्रभाव (पहुँच) ले अनुसन्धान रोकिने हो कि ?
त्यसो हुँदैन । अनुसन्धानले पुष्टि गरेमा गृह मन्त्रालयभित्रकै र जोकोही व्यक्ति कारबाहीको दायरामा आउनेछन् । नक्कली शरणार्थी बनाएर पैसा असुल्ने अमानवीय यो कदममा अब कुनै प्रभाव वा पहुँचको अर्थ रहन्न । के सही, के गलत भन्ने न्यायिक निरूपण मात्रै बाँकी रहन्छ ।
यतिका वर्षदेखि यो वा त्यो बहानामा चलिरहेको गिरोहबारेमा गृह मन्त्रालय कसरी जानकार रहेन ? यो अचम्म होइन र ?
हो, अचम्मको कुरा छ । यही भएर यो प्रकरणमा रहे/भएका फाइल मगाएर अध्ययन गर्ने काम सुरु भएको छ । म आफैंले व्यक्तिगत रुचि लिएर यो गिरोहबारे अनुसन्धानमा लागेको छु । अहिले प्रहरीबाट जुन प्रक्रिया अघि बढेको छ, यसलाई कुनै कोणबाट पनि कमजोर नपार्ने गरी काम अघि बढ्छ । दोषी जो भए पनि कानुनको दायरामा ल्याइनेछ, म यो दृढता दोहोर्‍याएर भन्न चाहन्छु ।
शरणार्थी समस्यालाई स्थायी रूपमा समाधान गर्न गृह मन्त्रालय आफैंले कार्यदल बनाएर प्रतिवेदन बुझ्ने, अनि फेरि त्यही प्रतिवेदनको आधिकारितामा अर्को कार्यदल बनाउने कुरा आफैंमा अनौठो थिएन र ?
हो, त्यही भएर यो सरोकारको सुरुवातदेखि नै जोडिएका सबै पक्षमा अध्ययन र अनुसन्धान हुने भएको छ । अहिले चासोमा आएजस्तै यो मुद्दा ठगी मात्रैको हो वा संगठित अपराध हो भन्नेबारेमा पनि सरोकार सम्बद्ध पक्षको परामर्शपछि निर्क्योल लिइनेछ ।
शरणार्थीको मानवीय संवेदनामाथि खेलवाड गर्दै सञ्चालनमा रहेको गिरोह र यसमा जनसाधारणको करोडौं रुपैयाँ रकम ठगी भइरहेको यो घटनालाई कुनै पनि हिसाबले सामान्य रूपमा आकलन गर्न सकिँदैन । सक्दो प्राथमिकता राख्दै र गम्भीरताका साथ यो मुद्दालाई गृह मन्त्रालयले अघि बढाउने प्रतिबद्धता जनाउन चाहन्छु ।

समाचार

अघि बढ्यो मोतिहारी–सर्लाही ग्यास पाइपलाइनको काम

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि नेपाल आयल निगमले मोतिहारी–पथलैया सर्लाही एलपी ग्यास पाइपलाइनको काम अघि बढाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले डिटेल इन्जिनियरिङ सर्भेको काम थालेको हो ।
आईओसीकै लगानीमा डिटेल रुट सर्भे गर्न कम्पनी तोकेर कर्मचारी खटाइएको निगमका उपनिर्देशक भरत रेग्मीले जनाए । ‘सुरुमा मोतिहारी, अमलेखगन्जदेखि लोथर रुटको प्रारम्भिक अध्ययन भयो । तर, जग्गाका कारण त्यति सम्भावना देखिएन । सर्लाहीमा निगमकै १६ बिघा जग्गा छ, त्यहाँ सम्भावना भएकाले आईओसीलाई आग्रह गर्‍यौं,’ इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग उपनिर्देशक रेग्मीले भने, ‘निगमकै आग्रहमा आईओसीले डिटेल रुट सर्भे सुरु गरेको छ ।’
निगमले लोथरमा दोस्रो फेजअन्तर्गतको पेट्रोलियम पाइपलाइन (अमलेखगन्जदेखि लोथरसम्म) र इन्धन भण्डारण गर्ने योजना बनाएको छ । सोही कारण ग्यास पाइपलाइनका लागि जग्गा पर्याप्त पुग्दैन । फास्ट ट्र्याक पनि बन्ने चरणमा रहेकाले ग्यास पाइपलाइनका लागि सर्लाही उपयुक्त देखिएको रेग्मीले जनाए । ‘सबै हिसाबले सर्लाही उचित देखिन्छ, त्यही भएर आईओसीलाई आग्रह गरेका थियौं,’ उनले भने, ‘उसले टिम परिचालन गरिसकेको छ । आईओसीले लागत, राजमार्ग वा जंगलको बाटोसहितको डिटेल रिपोर्ट दिन्छ ।’ यसअघि आईओसीले मोतिहारीदेखि लोथरसम्मको प्रस्ताव गरेको थियो । त्यसका लागि रुट सर्भे पनि भइसकेको छ । तर सरकारको नीति तथा कार्यक्रममा सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन, चितवनसम्म पाइपलाइन र भण्डारण बनाउने नीति छ । १३ अगस्ट २०२० मा भएको नेपाल र भारतको दोस्रो संयुक्त अध्ययन कार्यदलले चितवनको लोथरमा एलपी ग्यास पाइपलाइनको रिपोर्ट दिएको छ । तर लोथरमा निगमको जग्गा पर्याप्त छैन ।
आईओसीले दिने विस्तृत रिपोर्टका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस हुन्छ । त्यसपछि कुन विधिबाट निर्माण गर्ने सरकारले निर्णय गर्ने मधेश प्रादेशिक कार्यालय अमलेखगन्जका कार्यालय प्रमुख प्रदीपकुमार यादवले जनाए । आईओसीले २३ लाख ५८ हजार भारु खर्चेर भारतीय कम्पनी एमएस एसोसिएट्सलाई जिम्मा दिएको छ । उक्त कम्पनीले करिब २ महिनाभित्र विस्तृत इन्जिनियरिङ रिपोर्ट दिने उनले बताए । ‘करिब १ सय ३५ किमिको अनुमान छ । कुन रुटबाट निर्माण गर्ने, कुन/कुन पोइन्टमा पाइप राख्ने, लागत खर्चसहित विस्तृत अध्ययन हुन्छ,’ यादवले भने, ‘सोही प्रतिवेदनका आधारमा जीटूजीबाट गर्ने कि निगमले लगानी गर्ने निर्णय हुन्छ ।’
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बनेपछि वार्षिक करिब २ अर्ब बचत भइरहेको छ । ढुवानीमा हुने नोक्सानी र भन्सार नाकामा हुने सवारी जाम अन्त भएको छ । इन्धन ढुवानीमा पाइपलाइन उत्तम विकल्प भएकाले ग्यासको पनि तयारी भएको हो । अहिले रक्सौलदेखि मुजफ्फरपुर १ सय ४० किमिबाट बुलेटमार्फत ग्यास ढुवानी हुन्छ । आईओसीले मोतिहारीसम्म ग्यास पाइपलाइन विस्तार गरिसकेको छ । ग्यास पाइपलाइनले नेपाली रकम बिदेसिनबाट जोगिने निगमको भनाइ छ ।
बुलेटबाट ग्यास ढुवानी गर्दा वार्षिक ६ अर्ब रुपैयाँ खर्च भइरहेको छ । ग्यास ढुवानीमा भारतीय ट्रान्सपोर्टरको एकाधिकार हुँदा ढुवानीमै अर्बौं रुपैयाँ बाहिरिएको हो । निगमका अनुसार ग्यासको मासिक औसत खपत ५० हजार टन हो । उक्त परिमाण भारतका ५/७ वटा ट्रान्सपोर्टरको बुलेटमार्फत ढुवानी भइरहेको छ । हाल करिब ७ सय भारतीय बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ । यस्तो क्रम करिब ४४ वर्षदेखि जारी छ ।

Page 7
समाचार

उपचार अभावमा थलिए पाठेघरका बिरामी

- वसन्तप्रताप सिंह

(थलारा, बझाङ)

दुई सन्तानकी आमा थलारा गाउँपालिका–४ गढीकी नन्दा बोहराका श्रीमान् मानबहादुरको नौ वर्षअघि भारतमा मृत्यु भयो । मजदुरीका लागि गएका उनको रेलले किचिएर मृत्यु भएको खबर सुन्दा नन्दाका काखमा दुई महिने छोरी थिइन् । ‘सानोतिनो क्रण तिर्नु थियो । घरमा खान लाउनको पनि समस्यै थियो,’ उनले भनिन्, ‘पैसा कमाइ ल्याउँछु, क्रण तिरौंला, सबैलाई एक जोर नाना (लुगा) पनि फेरौला भनेर गएका हुन् । गएको गयै भए ।’
श्रीमान्को मृत्युपछि घरको जिम्मेवारी नन्दाकै काँधमा आयो । सुत्केरी अवस्थामै मल बोकिन्, सडक निर्माणका लागि ढुंगा फुटाइन्, घन र साबेल चलाइन् । त्यही बेलादेखि आफ्नो पाठेघर बाहिर निस्किएको उनले पत्तै पाइनन् । ‘अहिले त राम्ररी हिँड्न र उठबस गर्न पनि मिल्दैन । भारी बोकेका दिन रातभरि सुत्न सक्दिनँ । गरिखानु न मरिजानु भएको छ,’ उनले भनिन् । स्वास्थ्यकर्मीले पाठेघरमा संक्रमण भएकाले थप उपचारका लागि धनगढी जान भनेका छन् तर उनीसँग सदरमुकाम चैनपुरको जिल्ला अस्पताल पुगेर जँचाउने खर्च पनि छैन । ‘घरमा दुई छाक खानै समस्या छ, के लिएर जँचाउन जानु ?’ उनले प्रश्न गरिन् ।
नन्दाकी छिमेकी ४० वर्षीया बेलु बोहराको अवस्था झन् खराब छ । चार सन्तानकी आमा उनको पाठेघर खसेको एक दशकभन्दा बढी भयो । बाहिर गएर उपचार गर्ने हैसियत छैन । आमाको उपचार गर्न भनेर उनका २० वर्षीय छोरा भारतको दिल्लीमा मजदुरी गर्न गएका छन् । गत महिना १५ हजार रुपैयाँ पठाएका थिए । ‘छोराले पठाएको पैसाले ऋण तिरें । साहुले छोरा इन्डिया गएदेखि नै दैलो धाउन थालेका थिए,’ उनले भनिन्, ‘यत्रो वर्ष त सहेर बसें । दुई/चार महिना अरू सहुँला भनेर ऋण बुझाइदिएँ ।’ साहुको टोकसो सहन नसकेर ऋण तिरे पनि पाठेघरको पीडा सहिनसक्नु भएको उनले बताइन् ।
थलरा–२ बगाडाकी अनिता बीसी उमेरले २५ मात्रै टेकेकी छन् । केही वर्षअघि भारत गएका उनका श्रीमान् सम्पर्कविहीन छन् । पाठेघर खसेका कारण उनलाई निकै समस्या छ । दुई सन्तानकी आमा अनिताको दुई वर्षअघि पाठेघर बाहिर आएको थियो । ‘सात/आठ दिनसम्म दुई घण्टा उकालो बाटोमा दिनको तीन/चार ट्रिप ५०/५० किलो बालुवा र सिमेन्ट बोकेकी थिएँ । त्यही बेला यस्तो भयो,’ उनले भनिन्, ‘श्रीमान् इन्डिया गएपछि सम्पर्क गर्न छोडे । केटाकेटी त पाल्नुपर्‍यो भनेर सकिनसकी काम गरें । अहिले अपांग जस्ती भएकी छु ।’
यही वडामा पर्ने काफलकाँडा गाउँकी ७० वर्षीया देवकी किमाडीको अवस्था झन् दयनीय छ । उपचार नगरेका कारण घाउ भएको र सुन्निएको पाठेघर बोकेर उनी ३० वर्षदेखि पीडा सहिरहेकी छन् । ‘उति बेला रगत (तागत) थियो र जसो (जस्तो) भया पनि साया (सहें) अब त सहनै सक्दैन,’ उनले भनिन्, ‘उठिराखुँ भने खुट्टाले थाम्दैन । बस्यो कि मरिहालुँला जस्तो गरी दुख्छ । मलाई जसा (कस्ता) दुःख भयाका छन् कसरी भनुँ ?’
थलारा–२ मा मात्रै ५० भन्दा बढी महिलाको पाठेघर खसेको छ । पाठेघर खस्ने समस्याले गाउँका अधिकांश महिला पीडित भए पनि उपचारमा नजाने गरेको महिला स्वास्थ्य स्वयंसेविका जानकी खातीले बताइन् । ‘उपचार नगर्नुको कारण मुख्य त आर्थिक समस्या नै हो । अरूको पनि उही हो भनेर पुरुषहरूले पनि उपचारमा वास्ता गर्दैनन्,’ उनले भनिन्, ‘यहाँका महिलाले जीवनभर सास्ती खेपेर बाँच्नुपर्छ ।’
केही दिनअघि गाउँपालिकाले विभिन्न वडामा गरेको स्वास्थ्य परीक्षणबाट दुई सयभन्दा बढी महिलाको पाठेघर खसेको पाइएको जनस्वास्थ्य निरीक्षक जुनु ऐरले बताइन् । ‘ती त हाम्रो सम्पर्कमा आएकाको संख्या हो । कतिपय महिला घरमा काम भएको, स्वास्थ्य चौकी टाढा भएको भन्दै जँचाउनै आएनन्,’ उनले भनिन्, ‘हाम्रो अनुमानमा पालिकाभर पाठेघर खसेका महिलाको संख्या ३ सय २० हाराहारीमा छ ।’ केहीले तीन चार वर्षपहिला जिल्ला अस्पतालमा भएको शिविरमा रिङ हालेको भए पनि प्रत्येक तीन/तीन महिनामा फेर्नुपर्ने रिङ नफेर्दा झन् बढी संक्रमण फैलिएको र पाठेघर नै फाल्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । ५० देखि ६० जना रिङ राख्दा पनि निको नहुने अवस्थामा रहेको र उनीहरूको पाठेघर नै फाल्नुपर्ने भएको उनले बताइन् । ‘पाठेघर बाहिर आएर, घाउ भएर बस्नै नहुने अवस्थामा पनि श्रीमान्ले रक्सी खाएर जबर्जस्ती यौन सम्पर्क गर्दा रहेछन्,’ उनले भनिन्, ‘यस्तो अवस्थामा धेरैको घाउ झन् बिग्रिएको संक्रमण बढेको रहेछ ।’
सानो उमेरमा गर्भवती हुने, जन्मान्तर कम हुने, सुत्केरी अवस्थामा गह्रौं भारी बोक्ने, पोसिलो खानाको अभाव र समयमा उपचार नगर्ने गरेकाले ठूलो संख्यामा महिलामा समस्या रहेको गाउँपालिका ‘तीन वटा वडामा जाँच पडतालको काम भइसक्यो । बाँकीमा पनि गरिरहेका छौं,’ उनले भने, ‘पाठेघर खस्ने समस्या यति भयावह भएको होला भन्ने हामीले पनि सोचेका थिएनौं । कुनै संस्थाले शल्यक्रिया शिविर सञ्चालन गरे जिल्लामा पनि उपचार सम्भव हुन सक्छ । नभए त धनगढीतिरै जानुपर्छ हामीले केही गर्न सक्ने अवस्था छैन ।’

समाचार

सानैमा बिहे र अवैध गर्भपतन समस्या

- ज्योति कटुवाल

(सुर्खेत)
सुर्खेतको लेकबेंसी–३ की मोहनमाया केसीलाई ३० वर्षको उमेरमा राम्ररी उठ्न, बस्नै समस्या छ । २० वर्षको छँदा विवाह भयो । ४ छोरीकी छन् भने २ पटक गर्भपतन गराएकी थिइन् । ‘गर्भवती अवस्थामा न स्याहारसुसार न त पोषिलो खान नै पाइयो,’ उनले भनिन्, ‘पाठेघरको समस्याले अहिले नै थला परेको अवस्था छ ।’
छोरा पाउने आशामा असुरक्षित गर्भपतन गर्दा आफू बिरामी परेको उनले सुनाइन् । तल्लो पेट धेरै दुख्न थालेपछि परिवारको सल्लाहमा नै दुई वर्षअघि भारतको रुपैडिया गएर पाठेघर फालिन् । ‘त्यसपछि सहज होला भनेको त झन्झन् बल्झिएको छ,’ केसीले भनिन्, ‘अलिकति हिँड्यो कि रिंगटा लाग्छ, सानो काम गर्दा पनि जीउ फत्रक्क गल्छ ।’ उनकी ६० वर्षीया सासू जैकला केसी पनि पाठेघर खसेर हिँडडुलको समस्याले थलिएकी छन् । ‘पाठेघरको समस्याले हिँड्दा पनि कुप्रिनुपर्छ, काम गर्न पनि सकिँदैन,’ उनले भनिन् । गुर्भाकोट–७ की ४५ वर्षीया विष्णु विश्वकर्माले २५ वर्षदेखि पाठेघरको रोग खेपिरहेकी छन् । ‘मेरो यही अवस्थाले गर्दा श्रीमान्ले अर्की बिहे गरे,’ उनले भनिन्, ‘उठ्न/बस्न नसक्ने भएकाले छोराछोरीले पनि हेला गर्न थालेका छन् ।’
सशस्त्र प्रहरीले पूर्वी सुर्खेतमा गरेको दुई साता लामो महिला स्वास्थ्य शिविरमा आएका धेरै महिलामा पाठेघरको समस्या देखिएको हो । सशस्त्र प्रहरी अस्पतालकी स्त्रीरोग विशेषज्ञ एसपी डा.सौजन्य कर्माचार्यले जाँच गरिएकामध्ये ३० प्रतिशत महिलामा पाठेघरको संक्रमण र ५० प्रतिशतमा आङ खस्ने समस्या देखिएको बताइन् । गुर्भाकोट, लेकबेंसी र भेरीगंगाका झन्डै ८ हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो । धेरैलाई २० वर्षकै उमेरमा पाठेघरको समस्या देखा परेको उनको भनाइ छ । सशस्त्रको सर्वेक्षणमा ३ पालिकाका ७० प्रतिशत महिलाहरू सामान्य जाँचबाट समेत वञ्चित भएको पाइएको थियो ।
शिविरमा संलग्न डा. सुजिता श्रेष्ठले सामान्य सेतो पानी बग्दा नै स्थानीय महिलाले पाठेघरको उपचार गर्न भारत जाने र पाठेघर नै फाल्ने गरेको देखिएको बताइन् । ‘अधिकांश पुरुष भारतमा बस्ने भएकाले श्रीमती बिरामी पर्दा बोलाएर उतै उपचार गराउने रहेछन्,’ उनले भनिन्, ‘अनावश्यक औषधिले र मनोबिमारले महिलालाई झनै कमजोर बनाएको पाइयो ।’ सानै उमेरमा विवाह र छोराको आशामा गर्भपतन गर्दा पनि पाठेघरको समस्या धेरै देखिएको उनको भनाइ छ । जाँच गरिएकामध्ये २ सय ४ जना महिलाको पाठेघरको अप्रेसन गर्नुपर्ने, १२ जनाको पाठेघरमा क्यान्सर पाइएको छ ।

समाचार

वैदेशिक रोजगारका मृतकको बिमा रकममा ठगी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वैदेशिक रोजगारका क्रममा मृत्यु भई ल्याइने शवमाथि पनि ठगी हुने गरेको पाइएको छ । वैदेशिक रोजगारको सिलसिलामा वा बिदामा स्वदेश आउँदा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बिमा रकम मिलाइदिने भन्दै ठगी गर्ने गिरोहका ६ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको रोशी–१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी –८ का ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन–२ का ३९ वर्षीय रुद्रमान गोले छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले उनीहरूलाई गोंगबुबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा रहँदा वा बिदामा स्वदेश आउँदा मृत्यु भएका नेपालीले बिमाबापत पाउने रकम मृतकका आफन्तलाई दिलाइदिन्छु भनी ठगी गरेको पाइएको हो । बिमाबापत मृतकका परिवारले १३ लाख रुपैयाँ पाउनुपर्नेमा, गिरोहले ५ लाख रुपैयाँ मात्रै दिलाएर बाँकी रकम ठगेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘जब विदेशमा मृत्यु भएकाको शव विमानस्थलमा उत्रिन्छ, तब ठग गिरोह मृतकका परिवारसँग नजिक हुन्छन् र बिमा रकम दिलाइदिने भन्दै आश्वस्त पार्छन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले थपे, ‘बिमाको सम्पूर्ण कागजपत्र मिलाइदिने र बिमा रकम आइसकेपछि ठगी गर्ने गरेको पाइन्छ ।’
बिमाको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने पीडितको उजुरीका आधारमा विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले विभिन्न मृतकका नागरिकता, राहदानी, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बिमा कम्पनीको लेटरप्याडलगायत कागजातहरू पनि फेला पारेको छ । पक्राउ परेकाहरूविरुद्ध कार्यालयले ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको एसपी रेग्मीले बताए ।

समाचार

रेबिजले धमाधम मर्दै चौपाया

- कान्तिपुर संवाददाता


कञ्चनपुर (कास)– कञ्चनपुरमा पछिल्लो डेढ सातामा रेबिजका कारण ५ वटा गाईबस्तु मरेका छन् । भीमदत्त–१५ खैरभट्टीमा मंगलबार संक्रमित एउटा गाई मरेको छ ।
परीक्षणका क्रममा रेबिज पुष्टि भएको धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा.नरेश जोशीले बताए । उनका अनुसार भीमदत्त–१३ बडैपुरमा एउटा गाईमा रेबिजको लक्षण देखिएको छ । त्यहाँ दुई साताअघि रेबिजबाट एउटा बाख्रा मरेको थियो ।
उक्त क्षेत्रमा दुई साताअघि स्यालले ३०/३५ वटा गाईबस्तुलाई टोकेको थियो । त्यसको एक हप्तामा एउटा बाख्रा मरेको थियो । परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भएको थियो । ‘स्यालले टोकेकाहरूमा बिस्तारै लक्षण देखिन थाल्छ,’ डा. जोशीले भने, ‘गाईबस्तुको सम्पर्कमा आएका व्यक्तिहरूले तत्काल खोप लगाउनुपर्छ ।’
लालझाडी–३ मा गत साता मरेको एक कुकुरमा पनि रेबिज संक्रमण देखिएको थियो । डा. जोशीका अनुसार स्थानीयले खाल्डोमा पुरेको कुकुर झिकेर प्रयोगशालाको टोलीले परीक्षण गर्दा रेबिज पुष्टि भएको हो । पुनर्वास नगरमा पनि एक साताअघि मात्रै एउटा भैंसीमा रेबिज संक्रमण देखिएको छ । फेरि अर्को एउटा भैंसीमा लक्षण देखिएको खबर आएको डा. जोशीले बताए । वेदकोट नगरमा पनि केही दिनअघि रेबिजकै कारण बाख्रा मरेको थियो ।
कैलालीको गौरीगंगा नगरमा पनि रेबिजका कारण एउटा बाख्रा मरेको जोशीले बताए । प्रयोगशालाको टोली गएर परीक्षण गरिएको हो । ‘कैलाली र कञ्चनपुरमा धेरै ठाउँमा रेबिजको संक्रमण देखिएको छ, सबैले सतर्कता अपनाउन जरुरी छ,’ उनले भने, ‘रेबिज संक्रमण भएका गाईबस्तुको सम्पर्कमा आएका सबैले तत्काल खोप लगाउनुपर्छ ।’ स्यालले टोकेका घरपालुवा जनावर र मान्छेमा समेत संक्रमणको जोखिम रहेको उनले बताए ।
प्रयोगशालाले यसबारे सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयलाई जानकारी गराइएको जनाएको छ । निर्देशनालयले सतर्कता अपनाउन निर्देशन दिएको छ ।

 

समाचार

उपत्यका मेयर्स फोरम पुनर्गठन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– काठमाडौं उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन चुनिएका छन् । काठमाडौं उपत्यकाका महानगरपालिका/नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको उक्त फोरममा सूर्यविनायक नगरका प्रमुख वासुदेव थापा उपाध्यक्ष, चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी महासचिव, टोखा नगरका प्रमुख प्रकाश अधिकारी सचिव, मध्यपुर थिमि नगरका प्रमुख सुरेन्द्र श्रेष्ठ सहसचिव र तारकेश्वर नगरका प्रमुख कृष्णहरि महर्जन कोषाध्यक्षमा चयन भएका हुन् ।
फोरमको सदस्यहरूमा काठमाडांैं महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, दक्षिणकाली नगर प्रमुख मोहन बस्नेत, नागार्जुन नगर प्रमुख मोहनबहादुर बस्नेत, भक्तपुर नगर प्रमुख सुनील प्रजापति, कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की, गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन, चाँगुनारायण नगर प्रमुख जीवन खत्री, गोकर्णेश्वर नगर प्रमुखलगायत छन् ।

 

Page 8
खेलकुद

'हेभिवेट’ प्रतिद्वन्द्वीहरू

- राजु घिसिङ

(काठमाडौं)

महिला विश्वकपभन्दा १६ वर्ष पुरानो प्रतियोगिता हो, एएफसी वुमेन्स च्याम्पियनसिप (सन् २००६ देखि एएफसी एसियन वुमेन्स कप) । यो महादेशीय च्याम्पियनसिप सन् १९७५ मा हङकङबाट सुरु भएको थियो । हङकङमै भएको छैटौं संस्करण (१९८६) बाट नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको हो ।
हङकङमै आयोजित सातौं संस्करण (१९८९) खेलेपछि नेपाली टिमलाई प्रतियोगितामा फर्किन १० वर्ष लाग्यो । त्यो प्रतियोगिता पनि एएफसी वुमेन्स च्याम्पियनसिप नै थियो, फिलिपिन्समा भएको १२ औं संस्करण (१९९९) । त्यसपछि फेरि राष्ट्रिय टिम निष्क्रिय भयो/पारियो । दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबलले सन् २०१० मा ढाका (बंगलादेश) बाट प्रवेश पायो । त्यही ११ औं सागबाट नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्‍यो ।
दोस्रोपल्ट पुनरागमन गरेको ८ वर्षसम्म नेपाली टिम कतार, कुवेत र मलेसियासँग खेलेका केही मैत्रीपूर्ण खेलबाहेक दक्षिण एसियाली क्षेत्रका प्रतियोगिता (साग र साफ महिला च्याम्पियनसिप) मै सीमित रह्यो । त्यसपछि पहिलोपल्ट ओलम्पिक (टोकियो २०२०) छनोट खेल्यो । दोस्रो चरणसम्मै पुग्यो । त्यसको तयारीमा चीनमा प्रशिक्षण पनि गर्‍यो । भुवनेश्वर (भारत) मा महिला गोल्डकप (२०१९) र काराकोल (किर्गिस्तान) मा नाडेज्दा कप (२०१९) खेल्यो । नेपाली खेलाडीहरूले यी प्रतियोगितामा म्यानमार, उज्वेकिस्तानजस्ता माथिल्ला स्तरका टिमविरुद्ध खेल्ने अवसर पाएको थियो । भारतविरुद्ध नियमित खेलिरह्यो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिना छनोट सिधै सहभागी हुन पाउने व्यवस्थाअनुसार आयोजना गरेको एएफसी वुमेन्स च्याम्पियनसिपका तीन संस्करण नेपालले खेलेको थियो । सन् २००६ देखि प्रतियोगिताको नाम फेरिएर एएफसी एसियन वुमेन्स कप भयो । यसमा सिधै खेल्ने व्यवस्था खारेज गर्दै छनोट प्रतियोगिता थपियो । त्यसैले सन् १९९९ पछि नेपालले पहिलोपल्ट एसियन कप खेल्ने प्रयास २०२१ मा आएर गर्‍यो । अर्थात् पहिलोपल्ट छनोट खेल्यो, जुन विश्वकप छनोटको आधार थियो । नेपाली टिम त्यो छनोटमा जितनजिक पुगेर पनि फिलिपिन्सविरुद्ध हारेको हो । त्यही जितको आधारमा अगाडि बढेको फिलिपिन्स अहिले विश्वकप खेल्ने तयारीमा छ । दक्षिण एसियाली स्तरमा नेपाली महिला टिमलाई सधैं उपाधि दाबेदार मानिन्छ । तर, सधैं फाइनलमा चुक्ने गरेको छ । विशेषगरी भारतसँग टिक्न सक्दैन, जित्न सक्दैन । गत भदौ–असोजमा दशरथ रंगशालामा भएको छैटौं साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध १–० को ऐतिहासिक जित निकालेको नेपाली टिमले उपाधि खडेरी तोड्ने अनुमान गरिएको थियो । तर, फाइनलमा बंगलादेशसँग ३–१ ले हार्‍यो । बंगलादेशसँग पहिलो हारमात्रै होइन, फाइनलमा चुकेको दसौं खेल थियो त्यो । तसर्थ नेपाली टिम दसपल्ट उपविजेतामा रोकिएको छ ।
घरेलु भूमि विराटनगर (पाँचौं साफ २०१९), पोखरा (१३ औं साग २०१९) र काठमाडौं (छैटौं साफ २०२२) मा हारेको तीन फाइनलले नेपाली महिला फुटबलको स्तर खस्किएको हो कि भन्ने देखाउँछ । अथवा, अरू देशको तुलनामा विकासको गति नबढेको वा स्तरवृद्धि नभएको मान्नुपर्छ । नेपाली महिला राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्न थालेको ३७ वर्ष हुँदै गर्दा दक्षिण एसियाबाहिरको पहिलो प्रतिद्वन्द्वी बनेर आएको टिम हो, भियतनाम । चार महिनापछि विश्वकप खेल्ने तयारीमा रहेको भियतनाम पेरिस ओलम्पिक २०२४ छनोटको पहिलो चरणमा नेपालसँग प्रतिस्पर्धा आइपुगेको हो ।
महिला फुटबलमा साग र साफबाहेकको पहिलो प्रतियोगिता नेपालमा आयोजना गरिएको यही ओलम्पिक छनोट नै हो । अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि समूह ‘सी’ मा भियतनाम र नेपालले ‘होम एन्ड अवे’ को आधारमा खैल्दै छ । दशरथ रंगशालामा बुधबार भएको नेपालको ‘होम म्याच’ भियतनामले सहजै ५–१ ले जित्यो । भियतनामको होम म्याच शनिबार यही रगशालामा हुँदै छ ।
नेपालमाथि नै वर्षयताकै सबैभन्दा ठूलो हार दिएको भियतनाम माथिल्लो स्तरको टिम हो, बलियो प्रतिद्वन्द्वी हो । तर, नेपालका लागि अहिलेसम्मकै सबैभन्दा कठिन प्रतिद्वन्द्वी भने होइन । सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपाली महिला टिमका चार ठूला प्रतिद्वन्द्वी ः

आजको खेल
भियतनामविरुद्ध नेपाल
१८ः०० बजे, दशरथ रंगशाला

थाइल्यान्ड
एएफसी वुमेन्स च्याम्पियनसिप, १९८६
बैंककमा भारतलाई ३–० ले हराएर थाइल्यान्डले सन् १९८३ को एएफसी वुमेन्स च्याम्पियनसिपको उपाधि जितेको थियो । थाई महिला फुटबल टिमका लागि त्यो नै पहिलो महादेशीय उपाधि र हालसम्मकै ठूलो उपलब्धि हो । त्यसैले थाइल्यान्ड डिफेन्डिङ च्याम्पियनको रूपमा च्याम्पियनसिपको छैटौं संस्करण खेल्न सन् १९८६ मा हङकङ पुगेको थियो । नेपाली मलिहा टिमको ‘अन्तर्राष्ट्रिय डेब्यु’ त्यही हो । डेब्युमा आयोजक हङकङविरुद्ध १–० ले हारेको नेपाली टिमले दोस्रो खेलमै थाइल्यान्डको सामना गर्नुपर्‍यो, जहाँ रमा सिंहको कप्तानीमा रहेको टिम ५–० ले हारेको थियो ।
‘हामी जम्मा एक साताको ट्रेनिङमा गएका थियौं,’ त्यो टिमकी उपकप्तान कमला हिराचनले सुनाइन्, ‘थाई टिम वर्षौंदेखि ट्रेनिङ गरेजस्तो देखिन्थ्यो । उनीहरू खेलमा हामीभन्दा धेरै अगाडि थिए । रनिङ, स्पिड, स्किल सबै राम्रो थियो । हामीसँग केही पनि थिएन । थाई खेलाडीहरू हामीभन्दा बलिया र अग्ला थिए ।’ नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ६–० को हार बेहोरेको थियो । तर, सबैभन्दा बलियो प्रतिद्वन्द्वी थाइल्यान्ड नै भएको उनले बताइन् । लास्ट डिफेन्डरको रूपमा खेलेकी उनले तीन वर्षपछि नेपाली टिमको कप्तानी गरिन् ।
थाई टिमले हङकङमा उपाधि जोगाउन सकेन, तेस्रो भयो । उसले सन् १९९९ को भेटमा पनि नेपाललाई ५–० ले हराएको थियो । त्यसपछि प्रगति गरेको थाई महिला टिमले छनोट पार गरेर २०१५ (क्यानडा) र २०१९ (फ्रान्स) को विश्वकप खेल्यो । विश्वकपमा दुईपल्टै उसको चुनौती समूह चरणमा सकियो ।

भियतनाम
पेरिस ओलम्पिक २०२४ छनोट
अस्ट्रेलिया–न्युजिल्यान्डले जुलाई–अगस्टमा फिफा महिला विश्वकप २०२३ आयोजना गर्दैछन्, जहाँ भियतनामले महिला फुटबलको सर्वोच्च प्रतियोगितामा ‘डेब्यु’ गर्नेछ । उसले विश्वकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन अमेरिका, चार वर्षअघिको उपविजेता नेदरल्यान्ड्स र युरोपेली टिम पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । विश्वकप २०१५ छनोटमा प्ले–अफसम्म पुगेको भियतनामले एसियन कप २०२२ मा क्वाटरफाइनलमा चीनसँग हारेपछि विश्वकप २०२३ छनोटको प्लेअफ खेल्ने अवसर पाएको थियो, जहाँ टोलीले चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्ड र चाइनिज ताइपेइलाई हराएर पहिलोपल्ट विश्वकपमा स्थान बनायो । । प्रशिक्षक माई डुक चुङ सात वर्षयता सम्हालेको भियतनामी टिमले दक्षिण पूर्वी एसियाली खेलकुदमा तीन स्वर्ण र एएफएफ च्याम्पियनसिपको उपाधि जितेको छ । टोकियो ओलम्पिक २०२० को प्लेअफमा अस्ट्रेलियाविरुद्ध चुकेको भियतनामले विश्वकप खेल्ने तयारीको सुरुआत पेरिस ओलम्पिक २०२४ छनोट (पहिलो चरण) नेपाल यात्रा नै हो ।
फिफा वरीयतामा ३३ औं स्थानको भियतनामले छनोट पार गरेर पेरिस ओलम्पिक खेल्ने लक्ष्य राखेको छ । वरीयतामा १ सय स्थानमा रहेको नेपाललाई बुधबार पहिलो खेलमा भियतनामले ५–१ ले हरायो । कप्तान ह्युन न्ह्यु भियतनामी फुटबलका सुपरस्टार हुन् । उनले कीर्तिमान ६४ गोल गरेकी छन् । यसमा नेपालविरुद्ध गरेको दुई गोल पनि पर्दछ । उनी पोर्चुगलको पहिलो श्रेणीको क्लब लान्क एफसी भिलाभर्डेन्सबाट व्यावसायिक लिग खेल्छिन् । न्ह्युप्रेरित भियतनामले दशरथ रंगशालामा सात अवसरमा गरेको ५ गोलले पनि टिमको स्तर देखाउँछ ।

फिलिपिन्स
एएफसी वुमेन्स एसियन कप २०२२ छनोट
उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा सेप्टेम्बर २०२१ मा भएको एसियन कप छनोटको पहिलो खेलमा नेपालले विमला चौधरीले सविता रानाको क्रसमा हेडर गोल गरेपछि फिलिपिन्सविरुद्ध दसौं मिनेटमै १–० को अग्रता लिएको थियो । उनले गोलकिपर एन्जिला तुम्बापो सुब्बासँग जुधेपछि ३९ औं मिनेटमा मैदान छाडिन् । डिफेन्डर पूजा राना पनि चोट बोक्दै ६३ औं मिनेटमा बाहिरिइन् । तैपनि नेपाल अग्रता जोगाउँदै जिततर्फ अग्रसर थियो । तर, नेपाली रक्षापंक्तिमा समन्वय अभावको फाइदा लिँदै फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गर्यो । तहनाई एनिसले बराबरी गरेपछि केमिली विल्सनले ९२ औं मिनेट (इन्ज्युरी समय) मा निर्णायक गोल गरिन् । नेपालले फिलिपिन्सविरुद्ध २२ वर्षपछि भेटलाई ५–० बाट हारको अन्तर २–१ मा झार्‍यो । तर, अग्रता जोगाउन नसक्दा एसियन कपमा छनोट हुने अवसर भने गुमायो ।
एसियन कप २०१८ (जोर्डन) मा छैटौं भएको फिलिपिन्ससँगको भेटलाई एन्जिला सम्झन्छन्, ‘हामी जितनजिक पुगेका थियौं । अन्त्यतिर दबाब झेल्न सकेनौं र हामीले एसियन कपमा छनोट हुने मौका गुमायौं ।’ नेपालले छनोटको दोस्रो खेलमा हङकङविरुद्ध गोलरहित खेल्यो । फिलिपिन्सले हङकङलाई २–१ ले हराएर समूहमा शीर्षस्थानमा रहँदै एसियन कपमा स्थान बनायो । त्यही फिलिपिनो टिम गत वर्ष एसियन कप (भारत)मा सेमिफाइनल यात्रा गर्दै पहिलोपल्ट विश्वकपमा छनोट भयो । उसले अब हुने विश्वकप २०२३ को समूह चरणमा स्विट्जरल्यान्ड, सहआयोजक न्युजिल्यान्ड र नर्वेविरुद्ध खेल्दै छ ।


जापान
एएफसी वुमेन्स च्याम्पियनसिप, १९९९

नेपाली महिला टिमले अहिलेसम्म बेहोरेको कठिन वा बलियो प्रतिद्वन्द्वी जापान नै हो । जापानविरुद्ध नेपाली टिमले दुईपल्ट खेलेको छ १९८९ (हङकङ) र १९९९ (फिलिपिन्स) मा । नेपालले दुईपल्टै समान अन्तरको हार बेहोर्‍यो १४–० । नेपाली महिला टिमले बेहोरेको ठूलो हार पनि यही हो ।
जापानी टिमले गोलको वर्षात् नै गरेको थियो । दुईपल्टै एउटै ‘स्कोर’ भए पनि सन् १९९९ को जापानी टिम बलियो थियो । फिफाले महिला विश्वकप सन् १९९१ मा सुरु गरेको थियो । जापानले नेपालसँगको दोस्रो भेटअघि तीनपल्ट विश्वकप खेलिसकेको थियो । १९९५ (स्विडेन) मा क्वाटरफाइनल पुगेको थियो । जापानी खेलाडीसँग एट्लान्टा ओलम्पिक १९९६ को अनुभव पनि थियो ।
अमेरिकामा विश्वकप खेलेको ५ महिनापछि फिलिपिन्समा जापानले मीरा चौधरीको कप्तानी रहेको नेपाली टिमलाई १४–० ले हराएको थियो । नेपालले थाइल्यान्ड र फिलिपिन्ससँग समान ५–० ले हारेपछि अन्तिम खेलमा उज्वेकिस्तानसँग ६–१ को हार बेहोर्‍यो । पेमा लामाले गरेकी नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय गोल नै महादेशीय च्याम्पियनसिपको उपलब्धि रह्यो । जापान भने अहिलेको महिला फुटबलमा विश्वकै सशक्त टिममा पर्दछ । उसले २०११ (जर्मनी) को फाइनलमा अमेरिकालाई हराएर विश्वकप जित्यो । अर्को वर्ष लन्डन ओलम्पिक २०१२ मा रजत पदक हात पारेको थियो ।

खेलकुद

ऋचा मेमोरियल टी–२० क्रिकेट हुने

- कान्तिपुर संवाददाता


विराटनगर (कास)– परिवार नै क्रिकेटमा समर्पित विराटनगरका नरेश श्रेष्ठले दिवंगत छोरीको सम्झनामा प्रथम ऋचा मेमोरिएल टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएका छन् ।
पूर्वाञ्चल क्रिकेट एकेडेमीको नाममा सञ्चालनको तयारी गरिएको प्रतियोगिता लिगकम नकआउटका आधारमा चैत २७ देखि वैशाख ३ सम्म हुने श्रेष्ठले
बताए । उनी नेपाली क्रिकेटका अग्रजमध्येका एक हुन् ।
तीन दशकदेखि नेपाल क्रिकेट संघ (क्यान) को विभिन्न पद सम्हालेका उनी अहिले वरिष्ठ सल्लाहकार छन् । श्रेष्ठका छोराहरू युनिल र मञ्जितले नेपाली राष्ट्रिय क्रिकेट टिममा योगदान दिइसकेका छन् । युनिल राष्ट्रिय टिम छनोटकर्तामा छन् । मञ्जित नेपाल पुलिस क्लबबाट व्यावसायिक क्रिकेट खेल्दै छन् । परिवारकी एकमात्र छोरी ऋचाको ब्लड क्यान्सरले दुई वर्षअघि अस्ट्रेलियामा मृत्यु भएको थियो । उनकै नाममा परिवारले करिब ३० लाख खर्चेर प्रतियोगिता गर्दै छ । प्रतियोगिता गर्न क्यान र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबसहित एनबीएससी क्रिकेट टिम (नेपाल र भारतका खेलाडी मिलाएर बनाइएको टिम), विराटनगरको वाईआरसीसी, सुदूरपश्चिमको डडेलधुरालगायत भारतको दिल्ली र बिहारको नरपथगन्ज क्रिकेट क्लब सहभागी हुने आयोजकले जनाएको छ । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजलाई ५० हजार मूल्यबराबरको किट प्रदान गरिनेछ । सोमबार उद्घाटन खेलमा त्रिभुवन आर्मी र नरपथगन्ज टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई बर्सेनि गरिने श्रेष्ठले बताए ।

खेलकुद

भलिबल विजेतालाई ४ लाख

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम पोष्टबहादुर स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चैत २८ देखि वैशाख २ सम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भाग लिने छन् । ६ टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
प्रतिष्ठानका महासचिव निर्मल आचार्यले ८ वर्षअघि दिवंगत माओवादी नेता बोगटीको योगदान संस्थागत गर्दै सामाजिक कार्यहरू गर्न प्रतिष्ठान गठन भएको बताए । उनले यसै उद्देश्यअनुरुप भलिबल प्रतियोगता गर्न लागेको बताए । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ प्रदान गर्ने र अपुग रकम अन्य स्रोतबाट संकलन गरिने आचार्यले बताए ।
विजेताले ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टिमले १ लाख तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिनेछ । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलतर्फ पहिलो संस्करणमै उल्लेख्य राशिको पुरस्कार राखेर आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

खेलकुद

पेमा फाइनलमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– एपीएफका सोनाम सार्की र नेपाल पुलिस क्लबका भूपेन्द्र थापा शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा पुरुष ६३.५ केजी तौल समूहमा सोनामले वाग्मती प्रदेशका सागर दर्जी र भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई हराएका थिए ।
५१ केजीमा वाग्मतीका रविन थापाले मधेश प्रदेशका लक्ष्मण राई र एपीएफका आश तामाङले कोशी प्रदेशका
फुङलाङ काम्बाङलाई हराउँदै फाइनल तय गरे । ५७ केजीमा वाग्मतीका शुलभ मालीले पुलिसका शम्भु राजवंशी र कोशीका सुरेन्द्र राईले सुदूरपश्चिमका रामबहादुर थापालाई हराएर फाइनल भेट पक्का गरे ।
सुदूरपश्चिमका भरत चन्दले वाग्मतीका दावा छिरिङ लामा र कोशीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई हराएर पुरुष ७१ केजी तौलको फाइनलमा स्थान बनाए । ८० केजीमा लुम्बिनीका हेमराज रावल र वाग्मतीका मनोज तामाङ स्वर्णका लागि भिड्नेछन् । हेमराजले एपीएफका प्रयत्न लामा र मनोजले कर्णालीका दर्शन घर्तीमगरलाई हराए । ९२ केजी तौलमा एपीएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ र वाग्मतीका उमंग महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई हराएर फाइनलमा स्थान सुरक्षित गरे ।
महिला ५० केजीमा वाग्मतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेश प्रदेशकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टीालाई हराएर फाइनल तय गरे । ५४ केजीमा वाग्मतीकी अञ्जनी तेलीले लुम्बिनीकी माया केसी र एपीएफकी सञ्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठमाथि जित पाए । ५७ केजीमा पुलिसकी निशा तामाङले एपीएफकी शर्मिला तामाङ र वाग्मतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई हराएर फाइनल यात्रा तय गरे ।
६० केजीको फाइनलमा वाग्मतीकी हेमा राई र एपीएफकी संगीता सुनुवार भिड्नेछन् । हेमाले कर्णालीकी मनीषा खरु र संगीताले लुम्बिनीकी सुजनकुमारी कुमाललाई हराए । ६६ केजीमा एपीएफकी विनिता थापा मगरले वाग्मतीकी निश्मा गुरुङविरुद्ध फाइनल खेल्नेछिन् । विनिताले गण्डकीकी जोशिका श्रेष्ठ र निस्माले सुदूरपश्चिमकी सपना ऐडीलाई हराए । ७५ केजीमा कोशीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपीएफकी सरस्वती राना मगरले कर्णालीकी राधा बिकलाई हराएर फाइनल भिडन्त तय गरे ।

खेलकुद

मनाङ पहिलोपल्ट लिगको शीर्षमा

- कान्तिपुर संवाददाता

(काठमाडौं)
मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–८० मा शुक्रबार पहिलोपल्ट शीर्षस्थान ओगटेको छ । कीर्तिमान आठपल्टको च्याम्पियन मनाङले यससँगै उपाधिमा आफ्नो बलियो चुनौती पनि पेस गरेको छ । छैटौं चरणको अन्तिम खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–० ले हरायो ।
शुक्रबार नै भएको सातौं चरणको पहिलो खेलमा पहिलो स्थानमा रहेको जावलाखेलले खुमलटारसँग २–२ को बराबरी खेल्यो । यो खेल जितेको भए जावलाखेल शीर्षमा कायम रहन्थ्यो, तर सुरुआती अग्रता लिएर टोलीले त्यसलाई कायम राख्न सकेन । मनाङ गोलअन्तरले अगाडि छ ।
च्यासल मैदानमा भएको खेलमा मनाङका लागि कोफी कोउडोले दुई गोल गरे । उनले ३४ औं मिनेटमा पहिलो गोल गरेयता ५२ औ मिनेटमा दोस्रो गोल थपे । जितपछि मनाङको १४ अंक भएको छ । मनाङ अहिलेसम्म अपराजित छ । टोलीको ६ खेलमा यो चौथो जित हो । मनाङ यससँगै पछिल्ला ३ खेलमा लगातार विजयी छ । यस विपरीत फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो । टोली ४ अंकमै सीमित रह्यो । समग्रमा फ्रेन्ड्सको यो चौथो हार हो । सातदोबाटोमा भएको खेलमा जावलाखेलका लागि एनकोटो मसोबीले र फोडे फोफानाले एक–एक गोल गरे । खुमलटारको तर्फबाट अभिषक लिम्बू र मेसुके ओलोमोउले गोल गरे ।
मसोबीको गोलमा जावलाखेलले ३२ औं मिनेटमा अग्रता लिएको थियो । तर, यो अग्रता तीन मिनेटमात्र टिक्यो र अभिषेकले
बराबरी गोल गरे । खेलको ६३ औं मिनेटमा ओलोमोउले गोल गर्दै खुमलटारलाई
पहिलोपल्ट अगाडि राखे । टिम जिततर्फ अग्रसर देखिएको बेला फोफानाले ८६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि जावलाखेलको १४ अंक भएको छ । खुमलटारको ७ अंक भएको छ ।

Page 9
कोसेली

'शालीन’ सुवास, 'बाघ’ घिसिङ

- छुदेन काविमो

 

दार्जिलिङमा अलग राज्यका निम्ति कुनै दिन सशस्त्र आन्दोलन होला ?
८० को दशकअघि यो प्रश्नबारे धेरैले सोच्न पनि सक्दैनथे । किनकि त्यो बेला दार्जिलिङका आम मान्छेले सरकारविरुद्ध बोल्ने कुरा त छाडिदऊँ, बोल्नेहरूको कुरा सुन्ने आँटसम्म गर्दैनथे । यस्तो बेला एकाएक एक कवि सडकमा निस्किए र चिच्याए–
‘बरु मलाई त जंगली बाघकै मुटु
एकै दिन भए पनि पैंचो मागेर
मूल सडकबीचै मेरा पैतालाका डामहरू
छाडिराख्न मन लाग्छ ।’
त्यसपछि ? त्यसपछि त बिस्तारै त्यही पैतालाका डाम पछ्याउँदै दार्जिलिङका आम मान्छे सडकमा निस्किए । नारा लगाउन थाले । गोर्खाल्यान्डको निम्ति मर्न अनि मार्नसमेत तयार हुन थाले । यति ठूलो करामत गर्ने कवि उनै ‘सुवास’ थिए, जो दार्जिलिङको राजनीतिमा ‘घिसिङ’ बनेर गर्जिए ।
दार्जिलिङको मिरिङमा एउटा सानो कमान छ, मञ्जु । त्यही कमानमा २२ जुन, १९३६ मा जन्मिएका थिए घिसिङ । तर, त्यो बेला उनलाई न सुवास भनिन्थ्यो, न घिसिङ । घरकाहरूले दिएको नाम थियो– ‘शेराब’ । उनी शेराब बनेरै मञ्जु प्राइमेरी स्कुल पुगेका थिए । मञ्जु वरिपरिको जंगल । तलतिर बग्ने बालासान खोला । वरिपरिको चियाकमान । शेराब त्यतै घुमिरहन्थे । रेडियो सुन्थे । जब स्कुल छुट्टी हुन्थ्यो, बालासान खोलातिर दगुरिहाल्थे ।
खोलासँग तिनको लगाव यति धेरै थियो, दुईतीन दिनसम्म खोलामै बसिरहन्थे । दुवाली घुमाउँथे । माछा मार्थे । ओढारमै आगो फुकेर सुत्थे । त्यसैले घरकाहरू दिक्क मान्थे, ‘नांगेको शिकार गर्नु राम्रो होइन ।’
जब घर फर्किन्थे, तब फेरि जंगल जान्थे । र, घाँस काट्दै गरेका साथीहरूलाई सुनाउँथे, ‘एक दिन यो जंगलमा म सडक बनाउनेछु । हेर्नु मात्रै, यहाँ एक दिन गाडी कुद्नेछ ।’
सुवासका आप्पा कमानका मुन्सी थिए । घरको अवस्था साह्रै खराब थिएन । त्यसैले हाइस्कुलका निम्ति अब उनी सन्त रोबर्ट दार्जिलिङ पुगे । त्यहाँ फादरहरू थिए, जो बुधबार सबैलाई नक्सा बनाउन लगाउँथे । शेराबले अब नक्सा बनाउन थाले । कविता लेख्न थाले । उनको नाम बदलियो । अब उनी सुवास बने ।
हो । त्यही बेला हो, उनले नाटक लेखे, ‘भत्किएको घर’ । गाउँमा प्रदर्शन गरे ।
सुवास त्यही बेलादेखि नै हरथोकमा अघि हुन्थे । कविता सुनाउन सबैभन्दा पहिला आइपुग्थे । उनी फुटबल खेल्थे । चित्र बनाउँथे । भायोलिन बजाउँथे । म्यारोथन दोडिन्थे ।
जीवन ठीकठाकले हिँडिरहेकै थियो । अचानक गाउँमा टाइफाइडको रोग आइदियो । त्यही रोगले उनका आप्पालाई लिएर गइदियो । अनि त सुवासको पढाइ रोकियो । उनले अब नयाँ बाटो खोजे । सन् १९५४ मा उनी फौजी बने । फौजी बनेपछि नै उनले १९५९ मा माध्यमिक तह पास गरे । तर, घरको अवस्था सुध्रिन सकेन । घरमा एक्ली आमा थिइन् । उनी निकै वृद्ध भइसकेकी थिइन् । त्यसैले बारम्बार भन्थिन्, ‘पर्दैन फौजी हुनु । छोड्दे त्यो काम ।’
त्योबेला सुवास लेसनायक बनिसकेका थिए । नागाल्यान्डमा उनको ड्युटी थियो । एक दिन सेनासँग उनी नुचुङ खोलानजिक गस्तीमा गइरहेका थिए । एक घाइते नागासँग जम्काभेट भयो । उग्रवादी मानिने नागालाई सेनाले घेरामा हालिहाल्यो । त्यसपछि सोधियो, ‘तिमेरको नेता अङजामे फिजो कहाँ छ हँ ?’
‘मलाई थाहा छैन । त्यसै पनि म घाइते छु । बरु मलाई मारिदिए हुन्छ ।’
नागाको आँट देखेर सुवास छक्क परे । र सोधे, ‘किन तिमेरू यसरी लड्छौ ? किन मर्न पनि डराउँदैनौ ?’
‘हामी त आफ्नो माटाका निम्ति लड्दै छौं’, घाइते नागाले अन्तिम लाइन जोडे, ‘बरु तिमेरूचैं केको लागि यहाँ हामीलाई दबाउन आएको नि ? भातका लागि ?’
‘माटो’ को कुराले सुवासलाई तान्यो । उनले सेनालाई अर्डर दिए, ‘घाइतेमाथि गोली ठोक्नु कुनै बहादुरी होइन । उसलाई छोडिदेऊ ।’
नागालाई छोडियो । तर, खबर हाइकमान्डसम्म पुगिहाल्यो । सुवासमाथि कारबाही हुनेभयो ।
सुवासले फेरि गाउँ सम्झिए । बूढी आमा सम्झिए । बालासान खोला सम्झिए । र, १९६० मा फौजी छोडेर फेरि दार्जिलिङ फर्किए ।
अब उनी शिक्षक बने । त्यो १९६१ को कुरा हो । उनले तीनधारे बंगला स्कुलमा पढाउन थाले । त्यही बेला तीनधारेमा सांगीतिक कार्यक्रम हुँदै थियो । सुवासलाई भायोलिन बजाउने मुड चलिहाल्यो । उनी बीचैमा जबरजस्ती मञ्चमा उक्लिए । र, भायोलिन बजाउन थाले । अब बिग्रिएन त कार्यक्रम ?
दर्शकहरूले दिक्क मान्न थाले । बलजफ्ती बजाइरहेको धुन बन्द गर्न हुटिङ नै सुरु गरिदिए, ‘भयो, भयो । तिम्रो धुन मिलेन ।’
तर, सुवासको ढिप्पीसँग कसले सक्ने ? उनले स्टेजबाटै जवाफ दिए, ‘बजाउँदै गर्नुपर्छ । धुन एक दिन आफैं मिलिहाल्छ ।’
एक वर्ष शिक्षक बनेपछि उनले टिचर ट्रेनिङ गर्ने भए । त्यसैका निम्ति १९६२ मा बीटी गर्न कालेबुङ पुगे । त्यो बेला बीटी गर्नेहरूका निम्ति काम
छुट्याइन्थ्यो । सुवास घिसिङलाई फुड सेक्रेटेरी बनाइएको थियो, जहाँ होस्टेलको खाना व्यवस्थाबारे उनले हेर्नुपर्ने हुन्थ्यो । तर, त्यही समय अर्को घटना भयो । एक दिन ट्रेनिङमा आउने एक शिक्षकलाई झाडा लागेछ । घिसिङले खाना बनाउनेलाई अर्डर दिइहाले, ‘आज सबैका निम्ति खोले बनाइदिनू ।’
‘झाडा लाग्ने त एक जना मात्रै हुन् । किन सबैले खोले खानू ?’, प्राचार्यकहाँ गुनासो पुगिहाल्यो । प्राचार्यले घिसिङलाई बोलाए र सोधे, ‘किन यस्तो गरेको ? तिम्रो काम त यहाँ के छ, के छैन– हेर्ने मात्रै हो त !’ यति सामान्य कुरा थियो । प्राचार्यसँग बहस चल्यो । उनले फेरि बीटी कलेज पनि छाडिदिए ।
त्यसपछि त उनी दार्जिलिङ कलेज आइपुगे । त्यहीँ उनको भेट राजनीतिक नेताहरूसँग हुन थाल्यो, साहित्यिकहरूसँग हुन लाग्यो, जहाँ साहित्यकार एडोन रोङ्गोङ र उनी एउटै होस्टेलको कोठामा बस्थे । त्यही कोठामा सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीहरू गफ गर्न आउँथे । दावा बम्जनहरू आइपुग्थे । कवि आगमसिंह गिरी, नन्द हाइखिम, समीरण ‘प्रियदर्शी’ हरू आइरहन्थे । सुवास आफूले लेखेको उपन्यास पढ्थे । र, अरूलाई सुनाइरहन्थे ।
पछि सुवास घिसिङ किरायाको अर्को घरमा सरे ।
भिनितामा उनको सानो कोठा थियो । उनी त्यही बस्थेँ । चर्किएको चस्मा लगाउँथे । कोठामा एउटा कालो बिरालो थियो । कुनै बेला बिरालो आएर उनको कुमैमा बसिदिन्थ्यो । तैपनि उनी लेखिरहेकै हुन्थे । आगो ओगल्ने कविता लेख्ने घिसिङको चर्किएको चस्माबारे एक दिन लेखक जीवन लावरले सोधे, ‘किन चर्किएको चस्मा लगाउनुहुन्छ तपाईं ?’
उनले ठट्यौली गरे, ‘यो बंगाललाई हेर्ने मेरो चस्मा हो ।’ हो, त्यही बेलाको कुरा हो । उनले कविता लेखे । पहिलो उपन्यास ‘नीलो चोली’ लेखे । त्यो उपन्यास रातारात यसरी हिट भइदियो, जो हरेकको हात– हातमा पुग्न थाल्यो । त्यो बेला नेपाली किताब बनारसमा छापिन्थ्यो । एउटा छापाखानामा काम सकेर जब उनी दार्जिलिङ फर्किंदै थिए, सिलगडीमा आइपुग्दा छक्क परे । किनकि, त्यहाँ त उनको ‘नीलो चोली’ ब्ल्याकमा बिकिरहेको थियो ।
त्यसपछि त हो, उनले घोषणा गरे, ‘अब किताबको भित्री पन्ना मात्रै बनारसमा छाप्ने हो । कभरचैं दार्जिलिङमै छाप्ने हो ।’ किताबको कभरलाई उनीहरू ‘ज्याकेट’ भन्थे । त्यसपछि त नयाँ किताबको ‘ज्याकेट’ दार्जिलिङमै छापियो । त्यो ‘परिस्थिति’ उपन्यासको कभर थियो, जो भारतमै रंगीन कभरको रूपमा छापिएको पहिलो नेपाली किताब बन्यो ।
‘नीलो चोली’ ले सुवासलाई धेरै पाठकसम्म पुर्‍यायो । उनले चर्चा पाए । अश्लील लेखेको भन्दै गाली पनि खाए । तर, साहित्यमा परिचित नाम त बनिहाले । अब उनको कलम रोकिएन । ‘मने’ लेखे । ‘लुङखुङ क्याम्प’ लेखे । ‘नीलो चोली’ को नयाँ संस्करण घरीघरी आइरह्यो । ‘किताब कति छापियो ?’ पछि त सुवासले गन्तीधरि राख्न सकेनन् । तैपनि उनीमाथि अश्लील साहित्य लेखेको आरोपचैं घरीघरी दोहोरिइरह्यो । अनि त उनले सार्वजनिक रूपमै भने, ‘नेपाली साहित्य पढ्ने कति जना छन् र ? पढ्दै नपढेकाहरूलाई किताबप्रति तान्नलाई नै मैले यो उपन्यास लेखेको हुँ । पहिले म नेपाली किताब पढ्ने जमात बनाउन चाहन्छु ।’
सुवास लेखक थिए । त्यसैले त भावुक पनि थिए । उनी दार्जिलिङका मानिसहरूले भोगिरहेको दुःख देखेर हैरान हुन्थे । आम मान्छेको त्यही समस्या देखेरै १९६६ मा उनी पहिलोचोटि तरुण संघमा जोडिए । त्यो युवाहरूको जमात थियो, जसले आम मानिसको हितमा आवाज उठाउँथ्यो । सुवासलाई तरुण संघको मुद्दाले तान्यो ।
ऊ बेला दार्जिलिङमा आम मानिसको अवस्था निकै खराब थियो । त्यहीबेला देशमै खाद्य संकट सुरु भयो । यस्तो बेला युनाइटेड लेफ्टिस्ट फ्रन्टले देशव्यापी आन्दोलनको घोषणा गर्‍यो । दार्जिलिङमा खाद्य संकट चरममा पुगेको थियो । मान्छे राशनका निम्ति घण्टौं लाइनमा उभिनुपर्थ्यो । त्यसैले आन्दोलनको समर्थनमा दार्जिलिङ पनि उभियो, जसलाई तरुण संघले पनि समर्थन गर्‍यो । सुवास घिसिङ पहिलोचोटि सडकमा ओर्लिए ।
त्यो दिन दार्जिलिङमा ठूलै झडप भयो । पहिलोचोटि सरकारी वाहन जलाइयो । क्लबसाइड नजिकदेखि चौरस्तासम्मका दोकानपाट तोडफोड गरियो । बाटाको चप्पल फ्याँकाफ्याँकसम्म भयो । त्यसपछि के चाहिन्थ्यो ? सरकारले आन्दोलनकारीविरुद्ध मुद्दा दर्ता गरिदियो । १४४ जना आरोपी पक्राउ परे, जसमा सुवास घिसिङ पनि थिए । पछि अरूलाई छाडियो, तर १२ जना विरुद्ध नन–बेलेबल मुद्दा चल्यो । सुवास घिसिङ पहिलोचोटि जेल गए । जुन दिन उनी जेल पुगे, कोइला टिपे र भित्तामा कविता लेखे–
‘म वास्ता गर्दिनँ
म मेरो जीवनपथमा
डर पनि मान्दिनँ
ममाथि आकाशै खसे पनि
हाँस्न छाड्दिनँ ।’
त्यसपछि साथीहरूलाई नयाँ कथा सुनाए, ‘अब दार्जिलिङमा आन्दोलन नै गर्नुपर्लाजस्तो छ । यो थानाको राइफल पनि एक दिन खोस्नुपर्छ । दार्जिलिङलाई हामीले कब्जा गर्नुपर्छ ।’
केटाहरू खित्का छाडेर हाँसे, ‘पगलाजस्तो कुरा नगरौं !’ तर, घिसिङको त्यो अठोट बदलिएन । उनले त अब दार्जिलिङको सत्ताको सपना देख्न थालिसकेका थिए । त्यो बेला दार्जिलिङे राजनीतिमा घिसिङका निम्ति सबैभन्दा ठूलो चुनौती को थियो त ? त्यो देवप्रकाश राई नै थियो, जसको राजनीतिक धरातल चर्काउन अब घिसिङले नयाँ योजना सुरु गरे । राई किन दार्जिलिङमा यति धेरै शक्तिशाली छन्, जसलाई चुनावमा हराउनै सकिँदैन ? घिसिङले देवप्रकाश राईको शक्तिको धरातल खोजी निकाले । त्यो शक्ति गोर्खालीसँग जोडिएको ‘गोर्खा’ शब्द नै थियो ।
अनि ?
अनि, घिसिङले नयाँ रणनीति बनाए । देवप्रकाशलाई काउन्टर दिन सबैभन्दा पहिलो मुद्दा उठाए, ‘हामी गोर्खा होइन, नेपाली हौं ।’
१९६८ मा उनले यही मुद्दा उठाएर नयाँ पार्टी खोले । पहाडमा ‘नीलो झन्डा’ जन्मियो । अब उनले पत्रिका निकाले । र लेखे, ‘यो गोर्खा शब्दमा गुलामीको गन्ध आउँछ । नेपाली हुँदाहुँदै केको गोर्खाली ? हामी जन्मिँदा नेपाली हौं, मर्दा नेपाली हौं ।’
त्यसपछि उनी १० वर्षसम्म नेपाली–नेपाली भन्दै दगुरिरहे । देवप्रकाश राईलाई चुनौती दिन चुनावै लडे । चील चुनाव चिह्न लिएर आए । तर, देवप्रकाशको शक्तिअघि घिसिङको चीलले राजनीतिक उडान भर्नै सकेन । उनले ५ सय भोट पनि पाएनन् । तैपनि उदेक भयो । देवप्रकाशसँग चुनाव लड्ने अरू १२ जना थिए । तर, राईले घिसिङबारे मात्रै नसोचेको भविष्यवाणी गरिदिए, ‘अरू त के हो कुन्नि ? म मरेपछि यो चीलले चैं एक दिन उधुम मच्चाउनेवाला छ है !’ सबै छक्क परे । घिसिङ केही दिनलाई चुपचाप भए ।
ठीक त्यही बेलाको कुरा हो । दार्जिलिङ–कालेबुङमा खूब तर्क प्रतियोगिता हुन्थ्यो । सुकियापोखरीमा पनि तर्क प्रतियोगिता हुने भयो । ‘दार्जिलिङमा अलग राज्य चाहिन्छ/चाहिँदैन ?’ यसमाथि पहिलोचोटि तर्क–प्रतियोगिता हुने भयो । कुमार भोटिया यसका संयोजक थिए । उनले गोर्खा–लिग नेता देवप्रकाश राईसँग सुझाव मागे । जब राईले प्रतियोगिताको विषय हेरे, उनी हच्किए, ‘तर्कचैं राज्य हुनु हुँदैन भन्नेले जित्यो भने के हुन्छ ?’
आयोजक चकित भए, ‘साँच्चै राज्य हुँदैन भन्नेहरूले जिते के हुन्छ ?’ केहीअघि मात्रै कालेबुङमा अन्तर विद्यालय तर्क प्रतियोगिता भएको थियो । विषय थियो, ‘रक्सी खानु राम्रो हो कि होइन ?’ गभर्मेन्ट हाइस्कुलले ‘रक्सी खानु राम्रो हो’ भन्ने पक्षमा तर्क गर्नु थियो । उनीहरूले यति राम्रो तर्क राखे, अन्त्यमा प्रतियोगिता नै जिते । अर्थात् ‘रक्सी खानु राम्रो हो’ भन्नेहरूले जिते । अब परेन त फसाद ?
देवप्रकाश राईले नयाँ सुझाव राखे, ‘यो त गम्भीर विषय हो । यसमाथि तर्क प्रतियोगिता होइन । सेमिनर राख्नुपर्छ । बुद्धीजीवीहरूलाई बोलाउनुपर्छ ।’ तर्क प्रतियोगिता हठात् सेमिनारमा बदलियो । बुद्धीजीवीहरू कसलाई बोलाउने ? लेखक, प्रोफेसरहरूको सूची तयार गरियो । संगोष्ठीमा शिवकुमार राईदेखि इन्द्रबहादुर राईहरूसम्म भेला भए । मदन तामाङदेखि सुवास घिसिङहरूसम्म आइपुगे । त्यही सेमिनारले घोषणा गर्‍यो ‘अब अलग राज्य माग्ने हो । यसका निम्ति साँझा मञ्च बनाएर लड्ने हो ।’
अब प्रान्तीय मोर्चाले छुट्टै राज्यको मागलाई जोडदारसँगले अघि बढाउन थाल्यो, जसलाई घिसिङ आफैंले पनि केही समय नेतृत्व दिए । पछि कवि गुमानसिंह चाम्लिङले यसको अगुवाइ गरे । तर, जब नेतृत्वबीच मतभेद देखिन थाल्यो, घिसिङले ६ अप्रिल, १९८० मा आफ्नै अर्को नयाँ दल खोले, ‘गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ।’
तर, फेरि पनि घिसिङले भनेजस्तो समर्थन पाएनन् । त्यो यस्तो समय थियो, जतिबेला घिसिङ मान्छे थुप्रिएको देख्नसाथ भाषण सुरु गरिहाल्थे । मञ्जुमा त फुटबल फाइनल हुँदै गर्दा जित्नेले ट्रफी पनि थाप्न पाउँदैन थिए, घिसिङ सुरु भइहाल्थे । यस्तो बेला ८ अगस्त, १९८० को दिन सुकियापोखरीमा अर्को संगोष्ठी भयो, जहाँ प्रान्त परिषद् बनाउने घोषणा भयो, जो साँझा मञ्च थियो, जसले अब छुट्टै राज्यको मुद्दा अघि बढाएर लैजाने भयो, जहाँ सुवास घिसिङ थिए । उनकै दल गोरामुमो पनि थियो । सीपीएमको झन्डा नै बोकेर आउने अबुल फजलहरू थिए । सीपीआईबाट विद्रोह गरेर आउने भीमलाल दंगालहरू थिए । विभाजित गोर्खा–लिगको झन्डा नै बोकेर आउने मदन तामाङ अनि कंग्रेसका गजेन्द्र गुरुङहरू पनि थिए । आखिल भारतीय भाषा समितिका इन्द्रबहादुर राई र सीके श्रेष्ठहरू पनि थिए । उनीहरू सबै अब साझा मञ्चमा उभिए । त्यही संगोष्ठीको घोषणाअनुरूप २७ सेप्टेम्बर, १९८० मा अर्को बैठक बस्यो, जहाँ साहित्यकार इन्द्रबहादुर राईलाई ‘दार्जिलिङ प्रान्त परिषद्’ को अध्यक्ष बनाइयो । अब प्रान्त परिषद् शक्तिशाली संगठन बन्यो, जो कमान–कमान पुग्न थाल्यो । बस्ती–बस्ती पुगेर मान्छेलाई जागरुक गराउन थाल्यो । छुट्टै राज्यका निम्ति इन्दिरा गान्धीलाई पत्र लेखियो । तर, त्यही समय घिसिङ चुपचाप एउटा टोली लिएर नेपालका राजा भेट्न हिँडे । सुरु भएन त अर्को विवाद ?
अब प्रान्त परिषद्ले घिसिङलाई ‘शो कज’ गर्‍यो । कालेबुङको प्रणामी स्कुलमा बैठक बोलाइयो । एक बस समर्थकहरूसँग सुवास घिसिङ कालेबुङ आइपुगे । अध्यक्षको नातामा इन्द्रबहादुर राईले प्रश्न गरे, ‘यो त गलत काम गर्नुभयो । तपाईं प्रान्त परिषद्मा पनि हुनुहुन्छ । कसरी तपाईं नेपालको राजा भेट्न जानुभयो ? कारण बताउनुहोस् !’
घिसिङ जुरुक्क उठे । दुईचोटि खोके । र, भने, ‘यो सब मैले तपाईंहरूलाई बताई बस्नुपर्छ भन्ने मलाई लाग्दैन ।’
शक्तिशाली प्रान्त परिषद् अचानक फेरि दुई
फ्याक भयो । तर, फेरि पनि घिसिङ त रोकिनेवाला थिएनन् । उनी अब रात–दिन भाषण गर्दै हिँड्न थाले । जनता त फेरि पनि उही त थिए नि । घिसिङलाई पागल नै सम्झिरहे । त्यसपछि दिक्क भएर उनले भन्न थाले, ‘यो दार्जिलिङको मान्छे गुलुप हो गुलुप ।’
‘गुलुप ?’ घिसिङको आफ्नै लजिक थियो, ‘गुलुप भनेको बेलुन हो । र, दार्जिलिङका जनता त्यही बेलुनजस्तै छन् । जो फुक्दा मात्रै फुलेर यत्रो हुन्छ । फुक्न छोडिदिए, सुकिहाल्छ ।’ तर, उनले अब धेरै गुलुप फुकिरहन परेन । उनको कठिन संघर्षले त्यसपछि त बिस्तारै सफलताको लिक पक्रिहाल्यो, जतिबेला देवप्रकाश राईको निधन भयो । ‘नेपाली–नेपाली’ भन्ने घिसिङले हठात ‘गोर्खा’ शब्दलाई टिपे । र, इन्दिरा गान्धीलाई पहिलो चिठी लेखे, ‘हामीलाई गोर्खाल्यान्ड राज्य चाहियो ।’ अनि त पूरै युटर्न लिएर हाक्काहाक्की कराउन थाले, ‘नेपाली भन्नेहरू नेपाल जौं । हामी गोर्खा हौं । हामीलाई गोर्खाल्यान्ड चाहिन्छ ।’
‘गोर्खाल्यान्ड भनेको के हो ?’, धेरैले घिसिङको कुरा बुझेनन् । धेरैले उनलाई पागलकै संज्ञा दिइरहे । तैपनि उनले आफ्नो काम छाडेनन् । एक्लै पोस्टर गरिरहे । त्यसपछि कालेबुङमा जनसभा गरे । र, प्रान्त परिषद्माथि जाइलागे– ‘यो प्रान्त परिषद् भन्नेहरूले गर्दा हामीले गोर्खाल्यान्ड नपाएको हो ।’
मुद्दामाथि राजनीतिक बहस छेडिँदै थियो । दार्जिलिङमा आएर उनले अर्को तर्क पेस गरे, ‘राज्य माग्नेले नाम दिनुपरेन ? छुट्टै राज्य, अलग प्रान्त भनेर मात्रै हुन्छ ? हाटबजारमा सब्जी गर्न जानेले ‘मलाई एक केजी सब्जी देऊ’ भनेर हुन्छ ? ‘आलु’ चाहिन्छ भने ‘आलु’ माग्नुपर्छ । ‘टमाटर’ चाहिएको हो भने ‘टमाटर’ माग्नुपर्छ । त्यसैले अब हामीले तोकेर ‘गोर्खाल्यान्ड’ माग्नुपर्छ ।
घिसिङले अब भावी राज्यको न्वारनै गरिदिए, ‘गोर्खाल्यान्ड’ ।
घिसिङ बिस्तारै लोकप्रिय बन्दै थिए । ठीक त्यही बेला पूर्वोत्तरमा नयाँ हिंसा भड्कियो । मेघालयबाट नेपालीहरू लखेटिन थाले । घिसिङले त्यही मुद्दालाई समाए र भने, ‘अब पनि गोर्खा नजागे हामीलाई पनि यसरी नै लखेट्नेछ ।’
त्यसपछि त दार्जिलिङमा आन्दोलनको आगो सल्किहाल्यो । १३ अप्रिल, १९८६ मा घिसिङले विराट जनसभा गर्दै दार्जिलिङबाट १३ सूत्रीय आन्दोलनको घोषणा गरे, जहाँ पहाड बन्ददेखि लिएर भारत–नेपाल सन्धिको धारा–७ जलाउने कार्यक्रमसम्म थियो । जब पहिलो चरणको बन्द सुरु भयो, पानीघट्टमा निमा थिङ सहिद बने । फेरि खर्साङमा पुलिसको गोली चल्यो, थप अन्य ५ को ज्यान गयो । तर, घिसिङको कार्यक्रम त हातैमा थियो । २७ जुलाईमा भारत–नेपाल सन्धि जलाइने भयो । कालेबुङको थाना डाँडामा अर्कोचोटि पुलिस फायरिङ भयो । थप १३ जना सहिद बने ।
अब त पहाडमा गोर्खाल्यान्डको आगो लागिसकेको थियो, जो २८ महिनासम्म लगातार चलिरह्यो । हजारौं मान्छे मारिए । सैकडौं निखोज भए । दर्जनौं घरविहीन भए । कैयौं बलात्कृत बने । तैपनि आन्दोलन चलिरह्यो ।
त्यो आन्दोलन यति भयानक थियो, जहाँ दुनियाँको नजरै दार्जिलिङमाथि थियो । बीबीसीदेखि, गार्जियनसम्म, टाइम्स अफ इन्डियादेखि, भोइस अफ अमेरिकासम्म । सबै दार्जिलिङको खबर खोजिरहन्थे । तर, अन्त्यमा आन्दोलन विफल बन्यो । घिसिङले सम्झौताको बाटो रोजे । पहिलोचोटि दार्जिलिङमा अलग व्यवस्था आयो । दार्जिलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) गठन भयो ।
जब गोर्खाल्यान्ड आन्दोलन विफल बन्यो, तब उनले एउटै कुरामा मात्रै ध्यान दिइरहे, ‘नयाँ व्यवस्थाको नाममा ‘गोर्खा’ शब्द त हुनैपर्छ ।’ सरकारले उनको कुरा सुनिदियो । २२ अगस्ट, १९८८ मा ‘दागोपाप’ सम्झौता भयो ।
व्यवस्थामा गोर्खा नाम हालिसकेपछि पो उनले बुझे, ‘समतलको भूभाग त गुमिसकेको छ । कालीझोडासम्म परिषदमा छैन । यस्तो कसरी भयो ?’ उनले फेरि बंगालका मुख्यमन्त्रीसँग कुरा गरे । बंगाली मुख्यमन्त्रीलाई कसले सक्ने ? ज्योति बसु मुस्कुराए मात्रै, ‘यो हिल काउन्सिलको सम्झौता भएको हो । हिल भनेको पहाड होइन र ? अब यसमा समतल र डुवर्सको कुरा कसरी आउँछ नि ? तिमीले भनेको ‘गोर्खा’ त हालिदिएको छु त !’
घिसिङसँग अर्को विकल्प थिएन । चुपचाप ‘दागोपाप’ को चेयरमेन बने । र, विकासको काम सुरु गरे ।
त्यसपछि त उनले गाउँ–गाउँमा सडक बनाउन थाले । पुल बनाउन थाले । दार्जिलिङको अभेग ठाउँहरूलाई जोड्न थाले । अनि त उनले सबैथोक भुले । लेखन भुले । आन्दोलन भुले । हरेक दिन आफ्नै काममा व्यस्त देखिन थाले । ठूलाठूला सडकहरू बनाउन पनि उनलाई इन्जियिर चाहिँदैन थियो । छाताले जता जता देखायो, त्यतैत्यतै जेसीबी दगुर्थ्यो ।
पहाडमा यसरी किरिङमिरिङ नयाँ सडकहरू बनिन थाले । बिस्तारै घिसिङ अब पहाडको मुकुटविहीन राजा नै बने । झन्डै दुई दशकसम्म पहाडमा उनको हुकुमत चलिरह्यो । उनको आदेशबिना पहाडले कुनै नयाँ थोक सोचून् ? यो असम्भव जस्तै भइसकेको थियो ।
तर, उनलाई थाहा थियो– मान्छे ‘दागोपाप’ सँग खुसी छैनन् । त्यसैले उनले घरीघरी उटपट्याङ मुद्दाहरू उठाइरहे । कहिले ‘नोम्यान्सल्यान्ड’ भने । कहिले ‘लिजहोलल्यान्ड’ भने । कहिले ‘सिडेडल्यान्ड’ को कुरा गरे । कहिले हेगमा मुद्दा लगाउने धम्की दिए । तर, उनलाई थाहा थियो, त्यो मुद्दालाई लगेर कहाँ बिसाउनुपर्ने हो ! त्यसैले फर्किएर उनी छैटौं अनुसूचीमा आइपुगे ।
‘दागोपाप’ को चुनाव तीनचोटि भइसकेको थियो । अब चौथो चुनाव हुनेवाला थियो । उनले ‘दागोपाप’ को बढोत्तरीको मुद्दा उठाए । यस्तो लाग्छ, उनी अझै राजनीतिमा केही नयाँ गर्न चाहन्थे । त्यसैका निम्ति केही पुराना पार्षदलाई पनि फ्याक्न चाहन्थे । यसैले उनी अब खुलेरै बोल्न थालेका थिए, ‘अब मलाई सुगर पेसेन्ट पार्षदहरू चाहिँदैन ।’
ठीक त्यही बेला उनले अर्को गोटी फ्याँके । जम्मै पार्षदहरूलाई राजीनामा दिन लगाए । २१ मार्च, २००५ मा उनका पार्षदहरूले सामूहिक राजीनामा दिए । तर, आफैंचाहिँ ‘दागोपाप’ कै केयरटेकर बनेर बसिरहे । तर, त्यहीँबाट पनि उनले नयाँ करामत देखाए । ६ डिसेम्बर, २००५ मा छैटौं अनुसूचीको सम्झौता गरे । तर, त्यही छैटौं अनुसूची बिलको रूपमा पारित हुन पाएकै थिएन । दार्जिलिङमा राजनीतिक बदलावको अर्को पटकथा लेखियो । घिसिङ घरिघरि भनिरहन्थे, ‘दार्जिलिङमा अर्कै पोलिटिकल एटमसफियर क्रियट हुन सक्छ । तर, त्यो मैले क्रियट गरेको हुँदैन । त्यो हुरी बंगालले पठाएको हुनेछ । र, त्यसले पहाडलाई निलेको हुनेछ ।’
घिसिङ राजनीतिमा माहिर थिए । उनी उनै पार्षदहरूलाई नजिक राख्थे, जो सोझा हुन्थे वा अलि बढी मूर्ख हुन्थे । राजनीतिमा चतुर हुनेहरूले पहिले त टिकटै पाउँदैन थिए । पाए नि, बिस्तारै साइडलाइन गरिन्थ्यो । यस्तो समयमा पनि उनी विमल गुरुङको चाहिँ प्रशंसा गर्थे । खुलेरै भन्थे, ‘पार्षद भएपछि विमल गुरुङजस्तो हुनुपर्छ ।’ तर, उनै विमल गुरुङले घिसिङलाई ओभरटेक गरिदिए ।
दार्जिलिङमा त्यो बेला छैटौं अनुसूचीको विरोध चर्किन थालेको थियो । हर्कबहादुर छेत्रीहरूले लगातर घिसिङविरुद्ध लेख लेख्न थालेका थिए । त्यसमा महेन्द्र पी. लामाहरू थपिए । मदन तामाङ, आरबी राईहरूको स्वर अझै प्रखर बन्दै थियो । यस्तो बेला ‘इन्डियन आइडल’ को नयाँ शो सुरु भइदियो, जसको मञ्चमा अचानक दार्जिलिङका प्रशान्त तामाङ झुल्किए ।
सोनी टीभीबाट प्रशारित हुने उक्त रियलिटी शोमा पहिलोचोटि कुनै नेपाली पुगेका थिए, जसले गर्दा विश्वभरिका नेपालीले प्रशान्तलाई सघाउन थाले । तर, यस्तोबेला उनै घिसिङचाहिँ मौन बसिदिए । बिस्तारै विमल गुरुङले यसैलाई हतियार बनाए । घिसिङका सबैभन्दा प्रिय पार्षद गुरुङ नै उनीविरुद्ध बोल्न थाले र प्रशान्तका निम्ति फ्रेन्ड्स क्लबहरू खोल्न थाले ।
अब अन्य पार्षदहरू आतिए । र, घिसिङलाई सुझाव दिन पुगे, ‘भेल अर्कोतिर जान लाग्यो । अब केही गर्नुपर्‍यो अध्यक्षज्यू !’

तर, घिसिङ त कला बुझ्ने मान्छे थिए । उनलाई लाग्थ्यो, ‘कलाकार त जन्मिनुपर्छ । यसरी जबरजस्ती जन्माएर हुँदैन । एउटा मान्छेलाई धुरेर भोट गरेर जिताउँदैमा केही हुनेवाला छैन ।’ तर, त्यहीबेला एउटा एफएमले फुकिदियो, ‘अब गोर्खाले पनि गीत गाउँन थाले, चौकीदारी कसले गर्ने ?’ त्यसपछि त गोर्खा सेन्टिमेन्ट ह्वात्तै अघि आइदियो । अनि त, शोका जज अनु मलिकले ‘प्रशान्तको स्वर राम्रो छैन’ भनेर कमेन्ट गर्दा पनि मान्छे रिसाउन थाले । रातरात जागा रहेर भोट हाल्न थाले ।
बिस्तारै घिसिङ खलनायकजस्ता देखिन थाले । वर्षौंदेखि उनीविरुद्ध चुइँ बोल्न नपाएकाहरू सडकमा आएर कराउन थाले, ‘घिसिङ चौकी छोड् ।’
हो । त्यही आवाज बिस्तारै भीडमा बदलियो । त्यही भीडले घिसिङको चौकी हल्लाइदियो । विमल गुरुङले नयाँ बाटो भेटे । छैटौं अनुसूचीको समर्थनमा मिठाई बाँड्ने उनै विमल गुरुङ थिए, जो अब विरोधमा खुलेआम बोल्न थाले । १० मार्च, २०१० भित्र गोर्खाल्यान्ड ल्याउने घोषणा गर्दै ७ अक्टोबर, २००७ मा नयाँ पार्टी नै खोले– गोर्खाजनमुक्ति मोर्चा ।
अब पहाडको राजनीति बदलियो । बाघजस्ता गर्जिने घिसिङ मायालाग्दा भए । २००८ मा उनले दार्जिलिङ पहाड छाडे ।
घिसिङ ती नेता हुन्, जसले गोर्खाहरूलाई एकजुट गराए । पहिचानबारे बुझाए । सडकमा ल्याए । चिनारीका निम्ति लड्न सिकाए । तर, ती नेता पनि हुन्, जसका कारण अलग राज्यका निम्ति बनिएको साझा मञ्च सुरुमै भत्कियो । एकल नेतृत्वको राजनीति दार्जिलिङमा हावी हुँदै गयो । आन्दोलनपछि जब ‘दागोपाप’ अस्तित्वमा आयो, दार्जिलिङको पुरानो सीमा गुम्यो । पञ्चायतराज पूरै ठप्प बन्यो । दार्जिलिङमा नयाँ किसिमको राजनीतिक संस्कार सुरु भयो ।
घिसिङभन्दा अघि दार्जिलिङको राजनीतिक संस्कार अलग थियो । बौद्धिक राजनीति हुन्थ्यो । लेख्ने, पढ्नेहरू अगाडि हुन्थे । साहित्यकार रूपनारायण सिंह, शिवकुमार राईहरूले गर्ने राजनीति कति संस्कारको थियो होला ? दार्जिलिङमा त्यही राजनीति चल्थ्यो । तर, घिसिङको आन्दोलनपछि सबै बदलियो । शान्त र सुन्दर दार्जिलिङमा हत्या र हिंसा समान्य मुद्दा बन्न थाल्यो । घर जलाउनु, तोडफोड गर्नु, सरकारी सम्पति नष्ट गर्नुजस्ता घटना घरीघरी सुनिन थालियो ।
हो । पहाडको राजनीति अब विचारले होइन, पाखुराको बलले चल्ने भयो । मान्छेले फेरि पनि खुलेर बोल्नै पाउन छोडे । लेखक–पत्रकारहरूले लेख्नै नसक्ने भए । पहिले राज्यसत्ताको डरले बोल्न–लेख्न सकिँदैन थियो, आन्दोलनपछि आफैंले लडेर ल्याएको व्यवस्थामा बस्नेहरूको डरले बोल्न–लेख्न नसक्ने भए ।

कोसेली

'शालीन’ सुवास ....

- कान्तिपुर संवाददाता


‘गोरामुमो’ विरुद्ध जो बोल्थ्यो, ऊ आफैं समस्यामा पर्थ्यो । घिसिङको शासनकालभरि नै हत्या र हिंसाका घटना दोहोरिइरहे । दिनदहाडै प्रकाश थिङहरूको हत्या गरियो । सीके प्रधानहरूलाई गोली ठोकियो । घिसिङ आफैंमाथि पनि सात घुम्तीमा हमला भयो । त्यसैको आरोपमा उनीविरुद्ध बोल्ने छत्रे सुब्बाहरूलाई दस–दस वर्षसम्म जेलमा राखियो ।
तैपनि उनी चुपचाप बसिरहे । सन् २००० को अगस्टतिर देशमा तीनवटा नयाँ राज्य बनियो । दार्जिलिङका जनताले फेरि अलग राज्यको सपना देख्न थाले । ‘अब घिसिङले के बोल्ने हुन् ?’, धेरैले पर्खिंदै थिए । तर, उनले त उटपट्याङ कुरा गरिदिए, ‘साउन महिनामा बोल्नु हुँदैन । देउता त पानी छल्नका निम्ति पाताल गएका हुन्छन् ।’
हो । घिसिङ अब राजनीतिको मायाजालमा फसिसकेका थिए ।
उनले लेख्न छोडिसकेका थिए । उनको साहित्यिक गतिविधि राजनीतिको चक्रव्यूहभित्र फस्दै गएको थियो । उपन्यास र कवितामा क्रान्तिका कुरा लेख्ने सुवास अब भन्न थालेका थिए, ‘हामीले पहिले भूगोल बचाउनुपर्छ । टिस्टा र बालासन बचाउनुपर्छ । भाषा साहित्यभन्दा मुख्य कुरा भूगोल हो ।’
तर, उनले अध्ययन गर्नचाहिँ छाडेका थिएनन् । दार्जिलिङमा यस्ता नेता थोरै छन्, जसले मान्छेलाई दस्तावेज पढ्न सिकाए । सन्धिहरूबारे चर्चा गर्न लगाए ।
‘सुवास’ को लेखनमा जब ‘घिसिङ’ को राजनीति हावी बन्दै थियो, त्यहीबेला साहित्यकार गोकुल सिन्हाले सोधे, ‘नयाँ लेखाई केही हुँदै छ ?’ घिसिङले केहीबेर खैनी मोले । र भने, ‘यो लेख्नु भन्ने कुराचैं सजिलो छैन । किताब निकाल्दा पूरै बाइस दिन ओथ्रा बसेर आउने कुखुराको माउजस्तो हुनुपर्छ । बाहिर निस्किँदा चारो छर्ने कोही हुने होइन !’
तर, घिसिङभित्र एउटा लेखक त जीवित थियो नि । उभित्रको एउटा कविले त सास फेरिरहेकै थियो नि, जसले राजनीतिको दलदलबीच पनि भनिरहन्थ्यो–
‘म कवि हुँ
त्यसैले
हरथोक मेरो मुडमाथि निर्भर गर्छ ।
मेरो मुड मात्रै बदलिदिइयोस्,
म हरथोक गर्न सक्छु ।’
हो । उनले जे–जे मुड आयो, त्यही त्यही गरिरहे । गोर्खाहरूलाई विदेशीको लाञ्छना लाग्यो, उनलाई आन्दोलन गर्ने मुड भयो । ‘गोर्खाल्यान्ड’ शब्द जन्माए । हरेकको छातीमा छुट्टै राज्यको आगो सल्काए । र, आन्दोलन सुरु गरे । तर, जब सरकारको दबाब झेल्न गाह्रो हुन थाल्यो र पार्टीभित्रै वर्चस्वको लडाइँ सुरु भयो, तब उनले सम्झौतामा जाने मुड बनाए । कवितामा भनेझैं उनको मुडलाई कसले रोक्ने ? अब उनले हजारौं सहिदको सपना नै बिर्सिदिए । अनि सरकारसँग सम्झौता गरिदिए । जब जीवनका अन्तिम दिन आए, राजनीतिबाटै सन्यास लिने मुड बनाए । तब आफैंले जन्माएको शब्द केलाउँदै भनिदिए, ‘गोर्खाल्यान्ड नफल्ने वनतरुल हो । यसको पछि नदुगुर्नू ।’
तर, घिसिङ त घिसिङ थिए नि । उनीजस्ता न कोही थिए, न कोही हुनेछन् । उनले जे–जे पनि भने, जहिलेजहिले पनि भने, सधैं चर्चैचर्चामा रहे । दार्जिलिङमा घिसिङ मात्रै यस्ता नेता थिए, जसले बोल्दा पनि समाचार बन्थ्यो, नबोल्दा पनि समाचार बन्थ्यो ।
हो । घिसिङ दार्जिलिङको राजनीतिको त्यो नाम हो, जसले अलग राज्यको मुद्दालाई आम मान्छेको मुद्दा बनाइदिए । हरेक पहाडवासीको छातीमा आज जुन गोर्खाल्यान्डको भुङ्ग्रो छ, त्यो आगो सल्काउने पहिलो व्यक्ति उनै थिए, जसले गोर्खाल्यान्ड मुद्दा उठाएर सरकारलाई थर्काए । बंगाललाई चर्काए । यस्तो लाग्छ, घिसिङपछि आउने नेताहरूले त खासै केही गरेनन्, उनले फर्काएको दुवालीको माछा टिप्ने काम मात्रै गरिरहे । घिसिङले आन्दोलन गरे । राजनीति गरे । उनकै भाषामा भन्ने हो भने ‘नानाभाँति’ गरे । तर, जब राजनीतिदेखि दिक्क भए, जब दुई दशक लामो सत्ता पल्टियो, भूभागको कुरा गर्न सिकाउने घिसिङ आफैंले जब आफ्नै ठाउँ छोडेर जानुपर्‍यो, तब फेरि उनले लेखनका दिन सम्झिए । आफ्नै कविता सम्झिए । उपन्यास सम्झिए । र, भने, ‘अब उब्रिएको समय किताब लेख्न चाहन्छु ।’
अनि त उनले एउटै सन्देश दिइरहे, ‘राजनीति गर । नानाभाती गर । तर, आफूभित्रको कला नमार । किनकि एक दिन सबथोक मर्नेछ । तर, कला मर्ने छैन ।
म त भन्छु, राजनीति गर्न पनि कला चाहिन्छ । जीवन नै राजनीतिलाई दिएर पनि कलालाई प्रेम गरिरहने उनै सुवास थिए, जसले २९ जनवरी, २०१५ मा सधैंका निम्ति यो धरती छाडे ।

 

Page 10
कोसेली

१४० वर्षपछि कार्ल मार्क्स

- प्रदीप ज्ञवाली

चैत १७, साँझ साढे पाँच बजे । काठमाडौंमा अचानक झुल्किए कार्ल मार्क्स । निधन भएको १४० वर्षपछि काठमाडौंमा मार्क्सको अवतरण अपत्यारिलो थियो । त्यसो त मार्क्स आफूले जिन्दगीका अधिकांश कष्टप्रद समय गुजारेको लन्डनको ‘सोहो’ मा ओर्लिन खोजेका रहेछन्, तर ‘ब्युरोक्रेसी’ न हो, काठमाडौंमा नाटकको ‘शो’ मा उनी ल्याइपुर्‍याइदिए ।

पूर्ण जीवनकालमा कहिल्यै एसिया नटेकेका मार्क्सलाई काठमाडौंमा ल्याउने काम गरेको थियो– आरोहण गुरुकुलले । हावर्ड जिनले सन् १९९९ मा लेखेको नाटक ‘मार्क्स इन सोहो’ को नेपाली रूपान्तर ‘मार्क्स फर्किए’ काठमाडौंमा मञ्चन भइरहेको छ ।
सायद शेक्सपियरले हो, भनेका थिए– ‘तिमी मलाई माया गर या घृणा, दुवै मेरै पक्षमा हुनेछ । माया गर्‍यौ भने म तिम्रो मुटुमा बास गर्नेछु, घृणा गर्‍यौ भने तिम्रो मस्तिष्कमा डेरा जमाउनेछु ।’ यो भनाइ ठ्याक्कै लागू हुन्छ मार्क्सको हकमा । मृत्युपछि पनि उनी संसारका करोडौं मानिसको मुटुमै छन् । शोषित–उत्पीडितहरू आज पनि उनले देखाएको नयाँ संसारका लागि सङ्घर्षरत छन् । तर, उनको विरोध गर्नेको पनि कमी छैन । विरोधीको मस्तिष्कमा ‘भूत’ बनेर बसेका मार्क्सले तिनलाई तर्साइरहेकै छन् । केही वर्षअघि ‘बीबीसी’ ले गरेको एक सर्वेक्षणमा दोस्रो सहस्राब्दी (सन् १००१–२०००) का सर्वाधिक प्रभावकारी दार्शनिकका रूपमा चुनिएका मार्क्सको लोकप्रियतामाथि थप भनिरहनु पर्दैन ।
वास्तवमा मार्क्स कठोर अध्येता थिए । धुरन्धर विद्वान् थिए । अविश्रान्त लेखक थिए । जुझारु पत्रकार थिए । कम्युनिस्ट लिग, प्रथम अन्तर्राष्ट्रियका सङ्गठक र ‘मेन्टर’ थिए । श्रमजीवी वर्गको मुक्तिका स्वप्नद्रष्टा थिए । समाजवादका आर्किटेक्ट थिए । त्यो प्राप्तिका लागि लडिरहेका सङ्घर्षका अभियन्ता थिए । पुँजीवादका निर्मम आलोचक थिए । एक अप्रतिम प्रेमी पनि थिए । स्नेहालु बाबु पनि थिए । दिलदार मित्र पनि थिए । सर्वोपरि रूपमा, उनी एक संवेदनशील मान्छे थिए ।
नाटकले जब्बर सिद्धान्तकार, क्लिष्ट अर्थशास्त्री, दुरूह दार्शनिकभित्र लुकेका यिनै स्वप्निल, मायालु र कोमल मार्क्सको व्यक्तिगत जिन्दगीको जीवन्त चित्रण गर्छ । उनी बाँचिरहेको समयको पुँजीवादको अमानवीय चेहरा देखाउँछ र उनले भोगेको जिन्दगीको चरम कष्ट दर्साउँछ । मैनबत्ती जस्तै आफू निख्रिएर मार्क्सलाई उज्यालो पारिरहने जेनीको प्रेरणादायी तस्बिर उतार्छ । चुलबुले, मेधावी र विलक्षण कान्छी छोरी इलिन्योरको व्यक्तित्वको पोर्ट्रेट खडा गर्छ ।
त्यतिबेला पनि आजजस्तै मार्क्सको नाम भजाएर खानेहरू रहेछन् । उनले लेखेका या बोलेका शब्द, वाक्यलाई जथाभावी उद्धरण गर्दै आफूलाई धुरन्धर मार्क्सवादी देखाउने, आन्दोलन कमजोर पार्ने र त्यसबाट आफ्नो दुनो सोझ्याउनेहरू रहेछन् उतिबेला पनि । त्यस्ता मान्छेहरूबाट वाक्क भएर मार्क्स उनीहरूलाई भन्छन्, ‘म मार्क्सवादी होइन क्यारे ।’ पिपर नाम गरेको पात्रको माध्यमबाट मार्क्सका यस्ता ‘अनुयायीहरू’ को मुखुन्डो नाटकमा उतारिएको छ । जेनीसँग उनको अन्तरङ्ग संवाद छ, जहाँ उनी सोध्छन्– ‘जेनी, म के कुराबाट सबैभन्दा बढी डराउँछु थाहा छ ?’ आफैं जवाफ दिन्छन्, ‘पिपरजस्ता मान्छेहरूबाट, जसले मेरा विचारहरूलाई तोडमरोड गरेर विकृत पार्नेछन् ।’
समाजवादका नाममा भएका कतिपय सर्वसत्तावादी अभ्यासकै कारण मार्क्सवादबारे गलत भाष्य निर्माण गरिएको छ– मार्क्सवाद र स्वतन्त्रता विपर्यायी हुन्, समाजवादभित्र स्वतन्त्रता हुनै सक्दैन । तर, मार्क्स त्यसको ठीक विपरीत सोच्थे । नाटकमा उनी भन्छन्, ‘संसारमा पुँजीवादी साम्राज्यका ठाउँमा साम्यवादी साम्राज्य स्थापना गर्नु मेरो लक्ष्य होइन ।’ ‘कम्युनिस्ट घोषणापत्र’ को यो बहुचर्चित वाक्यांश दोहोर्‍याएर उनी आफूले देखेको समाजवादको सपनाको चर्चा गर्छन्, ‘हामी यस्तो सङ्घको निर्माण गर्न चाहन्छौं, जहाँ व्यक्तिको स्वतन्त्रता नै समाजको स्वतन्त्रताको पूर्वसर्त हुनेछ ।’
मार्क्सले व्यक्तिगत रूपमा असाध्यै पीडा भोगे । उनलाई विश्वविद्यालयबाट निकालियो । उनी आबद्ध पत्रिका बन्द गरियो । राइनल्यान्डको आन्दोलनमा सङ्लग्न भएबापत् जर्मनीबाट देशनिकाला गरियो । फ्रान्स पुगे, तर त्यहाँ पनि बस्न–खान दिइएन । ब्रसेल्स पुगे, त्यहाँबाट पनि लखेटियो । अनि उनी र उनको परिवारले लन्डनको एउटा पिछडिएको बस्ती सोहोमा सिङ्गो जिन्दगी गुजार्नुपर्‍यो । नाटकले लखेट्याइमा परेका उनको कष्टपूर्ण जिन्दगी र लन्डनमा बिताएका कहरका दिनहरूमाथि जीवन्त ढङ्गले वर्णन गर्छ ।
जब मार्क्स आफूहरूले घरका फर्निचर, गरगहना, लत्ताकपडा र यहाँसम्म कि जाडोका बेला ओभरकोटसमेत बन्धकी राखेर छाक टार्नुपरेको कथा सुनाउँछन्, हामीलाई यी महान् दार्शनिकको पीडा आफैंभित्र अवतरित भएझैं लाग्छ । ‘गुमाउनका लागि तिमीसँग नेल र हत्कडीबाहेक केही छैन, जित्नका लागि सिङ्गै संसार छ’ भनेर संसारभरका श्रमिकलाई उत्प्रेरित–उद्वेलित गर्ने मार्क्स जब आफ्ना तीन जना नानीहरू कसरी कुपोषण र बिमारीका कारण एक–एक गर्दै मरे भन्ने पीडादायी कथा अश्रुपुरित आँखाले वर्णन गर्छन्, दर्शकका आँखा नरसाइरहन सक्दैनन् । कति मार्मिक लाग्छ यो भनाइ, जब जेनीको मृत्युपछि उनको सम्झनामा टोलाउँदै मार्क्स भन्छन्, ‘अर्को जुनी हुनेरहेछ भने जेनी फेरि जन्मियून्, तर उनले मसँग विवाह नगरून्, किनभने उनले यस्तो दुःख पाएको म देख्न सक्दिनँ ।’
मार्क्सलाई आफ्नो लेखनी सरल–सुबोध बनाउन, सिद्धान्तमा मात्रै नरमाउन र लैंगिक प्रश्नमा अझै स्पष्ट हुन निरन्तर घच्घच्याउने, जस्तासुकै पीडालाई पनि धरतीजस्तै सहन गर्ने जेनीले दर्शकमाझ अमिट छाप छाड्छिन् । धन्न उनीहरूले एङ्गेल्सजस्ता साथी पाएका थिए, जसले प्रत्येक सुख–दुःखमा उनीहरूलाई आजीवन साथ दिइरहे ।
नाटकमा झुल्किने कान्छी छोरी इलिन्योरले दर्शकलाई नमेटिने सम्झना छाड्छिन् । आयरिस आन्दोलनकी समर्थक, अब्राहम लिङ्कनलाई सानै उमेरमा चिठी लेख्न सक्ने, बाबुआमासँग जमेर बहस गर्न सक्ने ती मेधावी इल्यिनोर ।
नाटकका अर्का बिर्सनै नहुने पात्र हुन् बाकुनिन– अराजक, उद्दण्ड, राज्य नामक संरचनाका अन्त्यहीन विरोधी र त्यसलाई नष्ट गर्नुपर्ने विचारका पैरवीकार, तर मार्क्सका साथी । उनीसँगको बहसमा मार्क्सका विचारका दूरदर्शिता, गाम्भीर्य र वैज्ञानिकताको थप अभिव्यक्ति प्राप्त हुन्छ ।
‘मार्क्स फर्किए’ मा मार्क्सको भूमिकामा एकदमै सुहाएका छन्– सुनील पोखरेल । सुनील आफैंमा एक तपस्वी हुन् । कलाका यी तपस्वीले विचारका तपस्वीका रूपमा खेलेको भूमिका जमेको छ । जेनीका रूपमा निशा शर्मा पनि निकै सुहाउँदिली छन् । इल्यिनोरका रूपमा अभिनय गर्ने सुनिशा बजगाईं, बाकुनिनको भूमिकामा चन्द्र नेपाली र अरू कलाकार सुवास तिमल्सिना, एलिजा तुम्बापो, राज न्यौपानेलगायतको अभिनय पनि गज्जबको छ ।
निर्देशक प्रवीण खतिवडाले नाटकलाई नेपालीपन दिने राम्रो कोसिस गरेका छन् । दृश्यपटमा देखिने धरहरा, पशुपतिले मात्रै होइन, ‘अच्छा लेकिन लन्डनको चिसोले सताउला’ भन्ने गीत, कर्णालीको लबज बोल्ने स्वर्गका सिपाहीहरू र मार्क्सले गरेको पुँजीवादको चरित्र–चित्रणको नेपाली सन्दर्भ पनि सुहाउँदिलो छ ।
मार्क्सका अनुयायीहरूले यो नाटक हेर्नुपर्छ र मार्क्ससँग आफूहरूका कुरा एवं कामको सङ्गति कहाँ मिलेको छैन– नियाल्नुपर्छ । मार्क्सलाई मन नपराउनेहरूले पनि नाटक हेर्नुपर्छ र उनीप्रतिको पूर्वाग्रह त्यागेर तटस्थ भावमा उनलाई हेर्नुपर्छ । आखिर अन्तिम सत्य ठानिएको पुँजीवादका सीमा, अमानवीयता र यसले गरेको भयावह विषमताबारे कसलाई पो थाहा छैन र ? आखिर न्याय र समानताका निम्ति चलिरहेको लडाइँ कहाँ रोकिएको छ र ?

कोसेली

राजदूत थरीथरीका

- मोहनकृष्ण श्रेष्ठ

म२०३९ सालमा कूटनीतिक सेवा प्रवेश गरें । त्यसपछि बैंकक, टोकियो, अबुधाबीमा विभिन्न कूटनीतिक पदमा काम गरें । र, फ्रान्सको पेरिसमा राजदूत भएँ । पेरिस रहँदा ग्रीस, मोनाको, पोर्चुगल र स्पेनका लागि पनि गैरआवासीय राजदूत भएँ र युनेस्कोका लागि स्थायी प्रतिनिधि ।
टोकियोमा झन्डै १५० राजदूतावास छन् । सन् १९८७ को त्यो एक दिन । गिनीका राजदूत बन्गाली डाबोसँग भेट भयो । उनी राजदूत, म द्वितीय सचिव । चिटिक्क मिलेको स्ट्राइप सुट र ठिक्क कदका राजदूत डाबो फरासिला थिए । रोमानियाका राजदूत कन्स्टान्टिन भ्लाद संवैधानिक कानुनका प्राध्यापक थिए । उनले भनेका थिए– म पूर्वराष्ट्रपति निकोलाई चेचेस्कुको अनुरोधमा राजदूत भइआएको हुँ ।
त्यसताका जापानबाट कार्यकाल समाप्त भई फर्किन लागेका राजदूतलाई राजदूतावासहरूले दुई/दुई हजार नगद वा कुनै सामान उपहार दिने चलन थियो । फ्रान्सका राजदूत जिल्बर्ट पेरोल एअर फ्रान्सका प्रेसिडेन्ट भइसकेका दिग्गज, नम्र र शालीन व्यक्ति थिए । एल साल्भाडोरका राजदूत एड पेराल्टाले उपहार–बन्दोवस्तको जिम्मा मलाई दिए । जम्मा भएको कुल १ लाख ७४ हजार येन मैले राजदूत पेरोललाई बुझाइदिएँ । थाहा छैन, अहिले यो व्यवस्था छ कि छैन !
थाइल्यान्डमा राजदूतावासको कामले साह्रै व्यस्त हुनुपर्थ्यो । पाहुनाको आवतजावत व्यापक हुन्थ्यो । सन् १९९४ मा बैंककको ल्यान्डमार्क होटलमा नेपाल प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको यियो । कलाकारका प्रस्तुतिबीच फिलिपिन्सका राजदूत रोजालिन्दा तिरोना अचानक मञ्चमा गएर नाच्न थालिन् । फिलिपिनोहरू नाचगानमा अब्बलै हुन्छन् । विदेशी राजदूत नै हाम्रो कार्यक्रममा नाच्न थालेपछि हामीहरू पनि मञ्चमै गएर नाच्न थाल्यौं ।
सन् १९९९ देखि २००३ सम्म जापानमा साह्रै व्यस्त भई काम गरियो । दैनिक पार्टीहरूमा जाँदा नयाँभन्दा पुरानै व्यक्तिसँग भेट हुन्थ्यो । राजदूतहरू पनि समूह–समूहमा जम्मा भई गफिन्थे । पेरिसमा पनि त्यही अवस्था देखें ।
बोलिभियाका राजदूत एडुवार्दो गालिन्दो शालीन व्यक्ति थिए । राष्ट्रपतिको चुनावमा हारेपछि जितेका राष्ट्रपतिले राजदूत बनाएर पठाएका रहेछन् । पाराग्वेका राजदूत सेन्योर मिग्वेल एन्जेल सोलानो लोपेज क्यास्कोलाई म स्पेनिस भाषामा ‘सेन्योर अम्बाखाडोर’ भनी सम्बोधन गर्थें । तर, उनी मलाई ‘राजदूत नभन्नू, मित्र भन्नू आमिगो, आमिगो’ भन्थे । ब्राजिल तथा पाराग्वेबीच बनाइएको विशाल इतापु डामको जनरल मेनेजरको अनुभव भएका व्यक्ति थिए ती । अर्का मित्र जिबुटीको राजदूत रासाद फराह हुन् । उनले जापान र फ्रान्स गरी २६ वर्ष निरन्तर काम गरे । पछि युनेस्कोको महानिर्देशकका लागि चुनावमा हारे । र, उनको कार्यकाल अन्त्य भयो ।
बंगलादेशका राजदूत अब्दुल मजिद ठूलो फ्यान थिए– अभिनेत्री मनीषा कोइरालाको । ‘फर्केपछि नेपाल गएर मनीषालाई भेट्छु’ भन्थे । श्रीलंकाका राजदूत नेभिल पियादिगामा मत्स्य मन्त्रालयको सचिवबाट राजदूत भएका रहेछन् । पूर्वप्रधानमन्त्री योसियो मोरीले सन् २००० मा नेपाल, भारत, पाकिस्तान र बंगलादेशको भ्रमण गर्दा श्रीलंका छुटेछ । फलस्वरूप जापानबाट बंगलादेश सरुवा गरिएकामा उनी दुःख मनाउ गर्दै थिए । त्यसै भनिएको होइन रहेछ– कूटनीतिज्ञ हुने व्यक्तिले टाउकामा एन्टेना लिएर हिँड्नुपर्छ, ।
भारतका राजदूत अफताब सेथ सज्जन, मृदुभाषी थिए । तिनी भियतनामबाट सरुवा भई आएका थिए । भेट हुँदा दुवै हातले समातेर भलाकुसारी गर्थे । पाकिस्तानका राजदूत कामरान नियाज नेपालबाट जापानमा सरुवा भई आएका थिए । उनको पहिरन उच्चकोटीको हुन्थ्यो भने बोलीवचन निकै राम्रो ।
म पछि यूएईमा कार्यवाहक राजदूत पदमा सरुवा भएँ । भारतका राजदूत चन्द्रमोहन पाण्डे मित्रवत् व्यवहार गर्थे । जापानका राजदूत योसिरो हातानो पेट्रोलियमका विशेषज्ञ थिए । जापान सरकारले मिचुबिसी कर्पोरेसनबाट सहमति लिई उनलाई राजदूत बनाएको रहेछ । जापान र यूएईबीच अर्बौं डलरको पेट्रोलियम पदार्थको व्यापार हुन्छ । विशेषज्ञले देशको सेवा राम्रोसँग गर्न सक्छन् । पोल्यान्ड तथा भियतनामका राजदूतहरूले अरबी भाषामा गरेको धाराप्रवाह भाषण अझै सम्झन्छु । पछि भियतनामका राजदूत क्वे नोग खाईसँग सोध्दा उनले भियतनाममै ५ वर्ष अरबी भाषा पढेर आएको सुनाएका थिए । कूटनीतिमा विदेशी भाषाको ज्ञान निकै काम लाग्छ । दिवंगत जापानी प्रधानमन्त्री सिन्जो आवे टोकियोमा कार्यरत छँदा जापानी भाषा बोल्थे र विदेशी राजदूतलाई दिवाभोजमा बोलाई अन्तरक्रिया गर्थे ।
फिलिपिन्सका राजदूत लिब्रान एन क्याबाक्टुलान मित्रवत् थिए । उनले फिलिपिन्सले समय समयमा जब–फेयर गर्ने गरेकाले देशलाई फाइदा हुने बताएका थिए । पछि हामीले पनि ७ जुन, २००७ मा दुबईको ग्रान्ड हायात होटलमा जब–फेयरको आयोजना गर्‍यौं । त्यस कार्यक्रमले नेपालमा उपलब्ध दक्ष र अर्धदक्ष कामदारबारे जानकारी दिन सघायो । फलस्वरूप यूएईमा विभिन्न वर्गका नेपाली कामदारको संख्या निकै बढ्यो ।
सन् २०१०, जुन १७ का दिन राजदूतको रूपमा पेरिस पुगें म । पेरिसको कूटनीतिक वृत्त ठूलो छ । बंगलादेशका राजदूत इनामुल कबीरसँग भेट हुँदा उनले कूटनीतिज्ञसँग राम्ररी घुलमिल गर्न नसकेको बताएका थिए । श्रीमती धनीमानीकी छोरी भएकाले आफू पेलिएको, हेपिएको कुरा पनि गर्थे । उनी सज्जन थिए । भारतका राजदूत राकेश सूद हाम्रो कार्यक्रममा आउँदा उनलाई पनि बोल्न लगाउँथे म । एकपल्ट उनले आफ्नो ३४ वर्षको कूटनीतिक सेवामा नेपालमा इन्ज्वाई गरेको सुनाएका थिए । जापानका राजदूत यासुओ साइतोसँग भेट हुँदा मैले ४० मिनेट जापानी भाषामै कुरा गरें । उनी प्रसन्न भए । एक दिन उनले केही राजदूतलाई डिनरमा बोलाएका थिए । मेरो बायाँपट्टि अफगानिस्तानका राजदूत–पत्नी बसेकी थिइन् । वाइन सर्भ गर्नुअघि राजदूत साइतोले ठूलो गिलासमा राखेको वाइन हल्लाएर चाखे । त्यो वाइन गिलासबाट बिस्तारै–बिस्तारै तल झरिरह्यो, जसलाई ‘वाइन लेग’ भनिँदोरहेछ ।
पेरिसको कूटनीतिक पार्टीमा नियमित भेटिन्थे– म्यासेडोनियाको राजदूत आग्रेन बुडजाकु । उनी पहिले यातायातमन्त्री थिए र पछि राष्ट्रपतिको निर्वाचनमा हारे । जितेका राष्ट्रपतिले सान्त्वनास्वरूप उनलाई राजदूत बनाएर पठाएका रहेछन् । उनीसँग मेरो कुरा मिल्थ्यो । भेट भयो कि अनेक विषयमा गफ गर्थ्यौं । हाम्रो आतिथ्य र खानाको पनि तारिफ गर्थे उनी ।
फिलिपिन्सका युनेस्कोका राजदूत मैडम क्रिस्टिना ओर्टेगा पनि मेरो राम्रो मित्र थिइन् । फिलिपिन्सले अन्तर्राष्ट्रिय हेरिटेज कमिटीमा चुनाव लडेको थियो । ‘हार्‍यो भने मेरो जागिर चट्’ भनी चिन्तित भरहन्थिन् । हामीले पनि सघायौं । फिलिपिन्सले चुनाव जित्यो ।
क्यारिबियन मुलुकका राजदूतमा अलि चर्की थिइन्– एल साल्भाडोरकी मैडम मारिया सोल द पुल । त्यतातिरका राष्ट्रले आफ्ना राजदूतलाई सवारी चालकसम्म दिँदैनथे । सबै हिसाब गरी एकमुस्ट रकम मासिक रूपमा दिएर राजदूत आफैंले तजबिज गरी राजदूतावास चलाउने सिस्टम रहेछ त्यहाँ । माल्टाको पनि त्यस्तै सिस्टम रहेछ । सन् २०१३ नोभेम्बर ७ मा युनेस्कोको कार्यकारी बोर्डका लागि भएको चुनावमा १४२ भोट ल्याई हामीले पनि जित्यौं । चुनावअघि नै मारिया सोलले एल साल्भाडोर मात्रै नभई क्यारिबका सबै देशले नेपाललाई भोट दिने बताइन् । नेपालको छवि र व्यक्तिगत मित्रताको एउटा परिणाम थियो त्यो ।
माल्टाको राजदूत मार्क मिग्गियानी नामुद वकिल थिए । उनीसँग राम्रो मित्रता थियो मेरो । त्यस्तै कम्बोडियाका राजदूत किच उमान १२ वर्ष पेरिसमा बसिसकेका थिए । सरकारको राम्रो नीतिले वार्षिक ८ अर्ब डलर विदेशी लगानी आइरहेको सुनाएका थिए उनले । त्योबेला मैले हाम्रो देशमा सम्झौता गर्ने, तर नआउने विदेशी लगानीबारे सम्झिएको थिएँ । मलेसियाका राजदूत अब्दुल अजिज जैनाल आर्मीका पूर्व चिफ थिए । उनी प्रधानमन्त्रीको अनुरोधमा फ्रान्समा राजदूत भएका रहेछन् । तर, उनी कूटनीतिको नोकरी झ्याउ लागेर २ वर्षमै स्वदेश फर्किए ।
अफ्रिकामा गिनी, गिनी बिस्साउ तथा इक्वेटोरियल गिनी नामका मुलुक छन् । गिनी बिस्साउका राजदूत अधबैंसे म्याडम थिइन् । खास उस्तो चिनजान–बोलचाल थिएन । एक दिन एउटा कार्यक्रममा भेट हुँदा मलाई बोलाएर एउटा कुनामा लगिन् । भनिन्, ‘दूतावासमा बजेट नआएको ८ महिना भयो, आर्थिक बोझ भइरहेको छ, तपाईं मलाई ५ हजार युरो सापट दिन सक्नुहुन्छ ?’ म एक छिन अक्क न बक्क भएँ । अब के जवाफ दिने महामहिमलाई ? मैले ‘पैसाको लेनदेन गर्न हाम्रो परारष्ट्र मन्त्रालयको स्वीकृति चाहिन्छ, सोधेर जवाफ दिउँला’ भनेर उम्किएँ । उनीसँग पछि भेट भएन ।
२ जुलाई, २०१० का दिन मैले फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा मेरो बायाँ १३ नम्बरमा युक्रेनका राजदूत ओलेक्जान्डर कुपचिसटिन थिए । पार्टीमा भेट हुँदा उनले आफ्नो देशमा स्टिल, फर्टिलाइजरका ठूला फ्याक्ट्री भएको र सबैभन्दा ठूलो कार्गो हवाईजहाज मिर्‍या–२२५ पनि युक्रेनमै बन्छ भनेका थिए । अहिले उनी कता छन् ? के गर्दै छन् ? थाहा छैन । निरन्तर आर्थिक प्रगतिपथमाा लम्किरहेको युक्रेनलाई युद्धले ध्वस्त बनाइसक्यो । तर, युद्ध सकिने कुरै छैन । चेक गणतन्त्रका राजदूत चातोर्दोभाका पति पनि सज्जन थिए । आफ्नो देशमा बनेका इन्जिनियरिङ तथा क्रिस्टलका सामान उत्कृष्ट रहेको भनिरहन्थे ।
कुनै देशले अर्को देशमा कसैलाई राजदूत नियुक्त गरी पठाउँदा उनीहरू आफ्नो द्विपक्षीय सम्बन्धलाई मूल्यांकन गर्छन् र उपयुक्त तथा उच्च ओहोदाको व्यक्तिलाई राजदूत पदमा नियुक्त गर्छन् । सन् १९९३ मा अमेरिकाले उपराष्ट्रपति तथा राष्ट्रपति पदमा चुनाव लडेका वाल्टर मोन्देललाई जापानका लागि राजदूत नियुक्त गरेको थियो । सायद अहिलेसम्म राजदूत पदमा नियुक्त भएका व्यक्तिमा उनी नै सबैभन्दा उच्च कदको हुनुपर्छ । हालै अस्ट्रेलियाले पनि अमेरिकाका लागि राजदूत पदमा पूर्वप्रधानमन्त्री भइसकेका केभिन रुदजस्ता पाको व्यक्ति नियुक्त गरेको छ । दुई देशको सम्बन्धलाई ध्यानमा राखी यस्ता उच्चस्तरीय निर्णय गरिन्छ । एक देशले अर्को देशमा राजदूत पठाउन चाहेको व्यक्तिलाई साधारणत अस्वीकार गरिँदैन । विचार पुर्‍याउने त पठाउने देशले हो । कूटनीतिक संवेदनशीलता शून्य भएको व्यक्ति राजदूत पदमा पुग्यो भने उसको कामले दुई देशबीचको सम्बन्धमा समस्या निम्त्याउन सक्छ ।
(लेखक फ्रान्सका लागि पूर्वराजदूत हुन्)

Page 11
कोसेली

कोशी कसरी 'अविकसित पालुवा’ ?

- कमल मादेन

हिन्दु धर्मशास्त्रअनुसार, ब्राह्मण मात्रै ऋषि हुन्थे । क्षत्रीचाहँ कठोर तपस्याका बलमा ऋषि कहलिन्थे । क्षत्री ऋषि भएको कथा वामन शिवराम आप्टेले सन् १८९० (पुनर्मुद्रित सन् २००९) मा लेखेको ‘संस्कृत–हिन्दी कोष’ मा उल्लेख छ । कथाअनुसार, एकताका कान्यकुब्जमा गाधि नामका प्रसिद्ध राजा थिए । तिनका छोरा विश्वामित्र थिए । विश्वामित्र रिसाहा, घमन्डी थिए । तिनी राजा भएपछि एक पटक सिकार खेल्दै जंगल चहार्दा बसिष्ठ ऋषिको आश्रम पुगेछन् । त्यहाँ अचम्मको एक गाई देखे । बसिष्ठ ऋषिबाट जे चाहना राखे पनि गाईले पूरा गरिदिन्थिन् । ऋषिले ब्राह्मणत्वबाट यस्तो गाई प्राप्त गरेका थिए । बसिष्ठ ऋषिलाई धन उपलब्ध गराएर विश्वामित्रले गाई लैजान चाहे । बसिष्ठले दिन अस्वीकार गरे । हठाट लैजान खोज्दा भएको संघर्षमा राजा विश्वामित्र परास्त भए । बसिष्ठ ऋषिले प्राप्त गरेको ब्राह्मणत्वका कारण विश्वामित्र हारेका थिए । उनी अत्यन्तै क्षुब्ध भए । र, जसरी पनि ब्राहमणत्व प्राप्त गर्नुपर्छ भन्ने अठोट गरे ।
उनले कठोर तपस्या गरे । तपस्याबाट ब्राह्मणत्व प्राप्त गरी विश्वामित्र ऋषि मात्रै ह्इोन ब्रह्मर्षि पनि भए । ऋषिमध्ये सबैभन्दा उचो कोटीको ऋषिलाई ब्रह्मर्षि भनिन्छ । विश्वामित्रको चर्चा ऋग्वेद, यजुर्वेद र अथर्ववेदमा छ । ऋग्वेदमा उनको योगदानको उल्लेख छ । यजुर्वेदमा विशेष उपलब्धि वर्णन गरिएको छ । उनले गरेको तपस्या र धर्म पालनका निम्ति समर्पित अभ्यास उल्लेख छ । अथर्ववेदमा उनको जीवनका विभिन्न पहलुको वर्णन छ । यस अतिरिक्त उनको चर्चा विष्णुको दसौं अवतार श्रीराम र कृष्णका कथामा पनि छन् । वामन शिवराम आप्टेले विश्वामित्र ऋषिको विशेषण कौशिक लेखेका छन् । आप्टेले बिहार प्रदेशमा बग्ने एक नदीको नाम कौशिकी पनि लेखेका छन् (संस्कृत–हिन्दी कोष, पृष्ठ. ३०८) । विश्वामित्रले जुन नदीको किनारमा तपस्या गरे, त्यसलाई कालान्तरमा कौशिकी नदी भनियो भन्ने कहावत छ । यस लेखमा कोशी नदी नामकरणको कथा लेखिएको छ ।

हिमवत्खण्डमा कौशिकी
स्कन्दपुराणमा कौशिक नदीको चर्चा छ भन्ने कतै पढेको थिएँ । सबैलाई थाहा भएकै हो– पुराण जम्मा १८ वटा छन् । १८ मध्ये १३ औं स्कन्दपुराण हो । पहिले स्कन्दपुराण अन्तर्गत हिमवत्खण्ड समावेश थियो भन्ने संकेत मातृकाप्रसाद कोइरालालिखित ‘कोशीको कथा’ (२०४६) बाट पनि पाइन्छ । कोइरालाले कोशी नदीको चरित्रबारे यस्तो वृत्तान्त लेखेका छन्, ‘भन्छन कि कोशी कुमारी नै छिन् । यिनको पूजामा सिन्दूर चढाइँदैन । बलि पनि बोका होइन, पाठी दिइन्छ । यिनको व्यवहारले पनि उन्मत कौमार्य र उद्दाम यौवनकै आभास पाइन्छ । न यिनको गति अरू नदीजस्तो संयमित, मर्यादित छ । न यिनको बाटो नै नियोजित छ, न त यिनको स्रोतमा गाम्भीर्य । यताउता छचल्किँदै, छिचरिँदै कहिले पूर्व, कहिले पश्चिम हान्निदै वेगले इतरिँदै, फन्किँदै, नाच्दै दुगुर्नु नै यिनको स्वभाव छ । आफ्ना बाटामा पर्ने ढिस्का काट्दै, रूख ढाल्दै, लछार्दै, सुकाउँदै बढ्नु यिनको धर्म हो ।’
केही दशकयता प्रकाशित भएका स्कन्दपुराणमा हिमवत्खण्ड पाइँदैन । योगी नरहरिनाथले २००४ सालदेखि अथक परिश्रम गरी २०१३ मा ‘हिमवत्खण्ड’ नामक ग्रन्थ प्रकाशन गरे । ग्रन्थमा विशेषगरी हिमालय क्षेत्रमा रहेका धार्मिक तिर्थस्थलका विवरण छन् । पुराणका चर्चा गरिरहँदा के बिर्सनु हुँदैन भने पुराणमा उल्लेख भएका विषयलाई प्रमाणका रूपमा लिइँदैन । यसै सम्बन्धमा रोमिला थापर (अर्लि इन्डिया, सन् २००२, पृष्ठ ९८) लेख्छिन्, ‘पुराणहरूमा एकीकृत दृष्टिकोण त हुन्छ, तर त्यसलाई इतिहासको रूपमा स्विकार्न सकिन्न । यसो भए पनि यसले मध्य–पहिलो सहस्राब्दीमा विगतलाई कसरी देखियो भन्नेबारे केही उपयोगी परिप्रेक्ष्यहरू भने प्रदान गर्छ ।’ नरहरिनाथले भावानुवाद गरेको हिमवत्खण्डको सक्कल त पढ्न पाइएन । तर, त्यो ग्रन्थ ४६ जना ब्राह्मणको सहलेखन वा सम्पादनमा छापिएको जानकारी उनै नरहरिनाथ लिखित ‘वैदिक साम्यवाद’ (दोस्रो संस्करण २०७७) पुस्तकमा छ । त्यो पुस्तक पुनः वेणीमाधव ढकालको सम्पादन/अनुवादमा प्रकाशित छ । त्यको हिमवत्खण्ड अन्तर्गत केही अध्यायमा कौशिकी नदीबारे लेखिएका हरफ छन् ।
हिमवत्खण्ड ग्रन्थको ४० अध्यायमा एक शीर्षक छ– ‘कौशिकीनद्या आविर्भावः’ । संस्कृत भाषामा ‘नद्या’ र ‘आविर्भावः’ ले क्रमशः नदी र प्रादुर्भाव वा
उद्विकास भन्ने जनाउँछ । यो अध्यायमा कौशिकी नदी उ्दविकासको चर्चा गरिएको छ । माथि भनिसकिएको छ– पुराण प्रामाणिक हुँदैन र यसलाई इतिहास मानिँदैन, ती केवल पौराणिक कथा हुन् । यो अध्ययामा देवी पार्वतीले सूर्य र अग्निबीच रहेर प्रचण्ड तपस्या गरेको चर्चा छ । यसक्रममा पार्वतीको पाउबाट निस्केको पसिनाका थोपा बग्दै बग्दै कौशिकी नदी उत्पत्ति भएको बताइएको छ । अध्याय ३४ मा कौशिकी नदी र कोका नदीको महिमाको वृत्तान्त छ । अध्याय ४२–४३ मा पनि कौशिकी नदीको महिमाको चर्चा छ । तर, उल्लिखित अध्यायमा कौशिक ऋषिबारे चर्चा छैन । तर, कुशिक नाम गरेको तपस्वीलाई गोदान दिइएको विवरण छ । वामन शिवराम आप्टेले ‘कुशिक विश्वामित्रको बुबाको नाम हो’ भनेर लेखेका छन् (संस्कृत–हिन्दी कोष, पृष्ठ २८९) । पार्वतीबाट गोदान दिइएको ठाउँलाई हेमकूट पर्वत भनिएको छ । हेमकूट पर्वत सम्भवतः पश्चिमोत्तर भारतमा छ । त्योचाहिँ उताको प्रसंग यता जोडिएको होजस्तो देखिन्छ । पार्वतीको कुशिक तपस्वीसँग कौशिकी नदीमा कुराकानी भएका विवरण पनि छन् ।
सन् १८०२ मा इस्ट इन्डिया कम्पनीको एक कारिन्दा भएर नेपाल आएका बुचनन् ह्यामिल्टनले लेखेको ‘एन एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ पुस्तकमा प्रस्तुत तत्कालीन नेपालको नक्सामा कोशी रिभर लेखिएको छ । पुस्तकको मूल पाठमा प्रशस्तै कोशी रिभर लेखिएको छ, कतै कोशी रिभर वा कौशिक रिभर पनि लेखिएको छ । कतै–कतै कौशिक रिभर मात्रै छ ।
वेद, रामायण, महाभारत, पुराणहरू दर्जनौं दर्जन पटक पुर्नलेखन भएका हुन् । योगी नरहरिनाथहरूबाट अवश्य हिमवत्खण्ड सम्पादन मात्र होइन, थपथाप गर्ने काम भयो । नेपालका प्रशंग थप्ने क्रममा पूर्वी नेपालको विषय बृहत् रूपमा मिसाइएको हुनुपर्छ । उनले पनि ह्यामिल्टनले जस्तै कतै कोशी नदी त कतै कौशिकी नदी लेखेका छन् र अरू नदीको नाममा पनि कौशिकी शब्द जोडिदिएका छन् । अर्थात् नदीको नाममा हिन्दूकरण गरेका छन् । ‘हाम्रो देश–दर्शन’ (विसं २०७७) पुस्तकमा स्वर्णकौशिकी, ताम्रकौशिकी, दुग्धकौशिकी, अरुणकौशिकी, वरुणकौशिकी, कावेरी (कावेली) कौशिकी, तमोरि (तमोर) कौशिकी लेखिएको छ (पृष्ठ ७) । यति मात्र होइन, हालै नामकरण भएको ‘कोशी प्रदेश’ लाई ‘कौशिकी प्रदेश’ लेखिएको छ । एक ठाउँमा यस्तो पनि लेखिएको छ– ‘यसै कौशिकी प्रदेशमा रुद्राक्ष प्रशस्तै छन् ।’ उनले राजर्षि र ब्रह्मर्षि कौशिक विश्वामित्रका स्मारकको रुपमा कोशी अञ्चल बनेको लेखेका छन् (पृष्ठ ४) ।

कोशी र कुर्सेला घाट
भाषाविद् तारामणि राई भन्छन्, ‘कौशिक शब्दलाई छोटकरीमा सायद कोशी लेखियो होला र यस्तो छोटो रूप दिन सकिन्छ ।’ तर, हिन्दु धर्मका एक विद्वान्ले ‘खुशी’ शब्दबाट कोशी भयो भनी लेखेका छन् । उनले अझ के भनेका छन् भने ‘खुशी’ किरात शब्द हो र यसैबाट कोशी शब्द बनेको हो । मेची, कोशी र सगरमाथा अञ्चलमा किरात अन्तर्गतका आदिवासी मूलतः लिम्बू, याक्खा, राई र सुनुवार समुदाय बसोबास गर्छन् । उनीहरूले बोल्ने किरात अन्तर्गतको भिन्नाभिन्नै भाषा छन् । लिम्बूले बोल्ने भाषालाई याक्थुङ पान भनिन्छ । राईले बोल्ने करिब २ दर्जन भाषा राष्ट्रिय भाषाका रूपमा सूचीकृत भइसकेको छ । याक्खाले बोल्ने भाषा लिम्बू भाषासँग आधाभन्दा बढी मिल्छ । सुनुवारले बोल्ने भाषा अलग्गै छ ।
भाषा तथा मुन्धुम अध्येता ‘याक्थुङ साम्जिक मुन्धुम’ किताबका सम्पादक डीबी आङबुङ भन्छन्, ‘खुशी’ बाट ‘कोशी’ शब्द बन्न सक्दैन । आङबुङका अनुसार, किरात भाषा परिवारमा खोला, नदीको नामको अन्तमा ‘वा’ लागेको हुन्छ । जस्तै, याङधाङवा (तमोर नदी), कोइक्वा (अरुण नदी) । अनि किरात समुदायको भाषा–व्याकरणमा ‘खुशी’ अपभ्रंश वा परिवर्तन भएर ‘कोशी’ हुँदैन । वास्तवमा कोशी शब्द संस्कृत शब्दबाट व्युत्पत्ति भएको हो । साझा प्रकाशनले २०७८ सालमा छापेको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ मा कोशीको अर्थ ‘अविकसित पालुवा’ लेखिएको छ । शब्दकोशमा कोशीको अर्थ लेखिएअनुसार, नदीको नामअघि कोशी शब्द रहँदा कसरी बुझ्ने ? के कोशी पूर्ण विकास नभइसकेको नदी हो ? कोशी अर्थात् सप्तकोशीको एक नदी अरुण पनि हो । अरुण नदी तिब्बतबाट बहँदै आएको हो । तिब्बतबाट बहँदै आएको अरुण नदी सुनसरीमा आइपुग्दा त्यहाँ अन्य ६ वटा नदी मिसिन्छ । सुनसरीमा सप्तकोशीको लम्बाइ करिब ५० किलोमिटर छ । कोशी विहार प्रान्तको कुर्सेला घाटमा गंगासँग मिसिन्छ । कोशीको लम्बाइ भारतमा मात्रै करिब २२५ किलोमिटर या नेपालभन्दा करिब ८ गुणा बढी छ । यो नदीलाई बिहारको दुःख पनि भनिन्छ । कोशीको अर्थअनुसार, कोशी नदीलाई कसरी अविकसित नदी भन्न मिल्छ ?

कोसेली

भ्रम र यथार्थको चक्र

- ज्ञानु अधिकारी

 

लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’ परम्परागत आख्यान लेखनको धारभन्दा पृथक्
छ । अमित र मुना नामका दुई पात्र छन् केन्द्रमा । थोरै समयावधिभित्र सँगै जोडिएका उनीहरूको दैनिकीलाई मात्रै विषय बनाइएको उपन्यासमा कथानक, पात्र र भाषा तीनवटै पक्षमा फरक प्रयोग छ । कथानक म्याजिक रियालिज्ममा आधारित छ भने असामान्य पात्रको भूमिकालाई मिहिन देखाइएको छ । आफू असामान्य मानसिकताबाट गुज्रिरहेको थाहा नपाएको र सामान्य अवस्थामै छु भन्ने विश्वास बोकेको युवक र संसारकै जटिल रोगबाट ग्रस्त युवतीको मनोविज्ञान किताबमा लेखिएको छ । उपन्यासको विषयवस्तु जटिल भए पनि भाषाशैली भने आवश्यकताभन्दा सरल छ ।
सामाजिक–ऐतिहासिक विषयमा लेखिएका आख्यानको लामो लहरमा मिसिन आइपुगेको ‘चिसो बाफ’ पृथक् विषयवस्तु र फरक शैलीमा लेखिएको प्रयोगपरक औपन्यासिक किताब बनेको छ । हालसम्म लेखिएका उपन्यासभन्दा फरक नै होस् भन्ने उद्देश्यले लेखिएको महसुस हुने यस उपन्यासमा कल्पनालाई जादुयी यथार्थका रूपमा प्रयोग गरिएको छ । विज्ञान र प्रविधिलाई मानवीय संवेदनासँग जोडिएको यस किताबमा विज्ञानका केही प्रयोग पनि गरिएको छ ।
प्रयोगधर्मी साहित्य अरुभन्दा फरक हुन्छन् नै । तर, यस्ता किताब रुचाउने पाठक पनि सीमित हुन्छन् । उपन्यासमा यथार्थलाई अतिरञ्जित गरेर भावुकता र करुणालाई उत्कर्षमा पुर्‍याइएको छैन बरु यथार्थ, अतियथार्थ, जादुयी यथार्थ र स्वैरकल्पनाको प्रयोग गरिएको छ ।
किताबमा केही यस्ता घटना र सन्दर्भ छन्, जसले पाठकलाई उत्सुक बनाउँछन् र अचम्मित पनि । जस्तै ः कुनै रेस्टुरेन्टमा देखिएको प्लास्टिकको रूखप्रति अतिसय आकर्षित हुनु र त्यो रूख देखिसकेपछि मुनाले सपनामा पनि त्यही रूख देख्नु, पार्कमा पनि त्यस्तै रूख देखिनु, मुनालाई रोग लाग्नु, अन्तिम अवस्थामा त्यस्तै प्लास्टिकको रूख किनेर ल्याउनु, प्लास्टिकको रूखबाट पसिना निस्कनु र त्यसले मुनाको यौनेच्छालाई सङ्केत गर्नुजस्ता सन्दर्भले पाठकलाई अचम्ममा पार्छन् । यसरी एउटा प्लास्टिकको रूखलाई प्रतीकात्मक अर्थ दिने मानवेतर पात्रका रूपमा प्रयोग गर्नु, विश्वमा कतै नभएको रोगको परिकल्पना गरी त्यस रोगबाट मुनाको मृत्यु हुनु, मुनाको मृत्युपछि लासलाई फ्रिजरभित्र राखी प्रेम गरिरहनु र बेलाबेला लासमाथि सम्भोग गर्नुजस्ता घटनाले उपन्यासलाई सामाजिक यथार्थबाट पर एउटा स्वैरकल्पना वा अतियथार्थको सीमासम्म पुर्‍याउँछ ।
न्यारेटर अमित अजीवको पात्र छ । परम्परागत नायकमा हुनुपर्ने गुण/विशेषता उसमा छैन । उसका खासै सपना छैनन् । योजना पनि छैनन् । ऊ कस्तो प्रकारको पात्र हो, पाठकले ठम्याउन सक्दैनन् । त्यसो त उसले पनि आफैंलाई चिन्नसकेको छैन । उपन्यासको मुख्य थिम नै म्याजिक यथार्थ हो । मुख्य पात्र मुनालाई लागेको रोग नै यस्तै प्रकारको यथार्थ हो, जसमा भनिएको छ– ‘पहिले भइरहेको रोगको क्रमअनुसार उसको टाउको दुखेको भोलिपल्ट टाउकोको चेतना हराउने पालो थियो । त्यसो हुनु भनेको उसको मुख नचल्नु थियो, जिब्रो पनि नचल्नु थियो । त्यसपछि उसले न बोल्न सक्ने थिई, न त खान नै । उसको नाकले सुँघ्न सक्दैनथ्यो, सास फेर्न पनि सक्दैनथ्यो । आँखाले देख्न र कानले सुन्न सक्दैनथ्यो । सायद त्यसपछि त्यो क्रम उसको मस्तिष्कमा सर्ने थियो । मस्तिष्कले काम गर्न छोड्ने थियो । त्यसपछि उसको जीवनको बत्ती पूरै निभ्ने थियो । उसले मलाई टुलुटुलु हेरिरहेकी थिई ।’ यसरी संसारमा कतै नभएको विचित्र किसिमको रोगको परिकल्पना गरेर त्यसलाई समसामयिक बनाउन कोरोना महामारीको प्रसङ्गसमेत जोडिएका यस्ता घटनाले पाठक भ्रम के हो र यथार्थ के हो भन्नेमा अलमल्ल पर्छ ।
प्रमुख पात्र असामान्य मानसिकताबाट गुज्रिरहेको छ । तर, आफू असामान्य हुँदै गइरहेछु भन्ने आभास छैन । आफूले गर्नुपर्ने कामहरू चुपचाप सामान्य रूपमै गरिरहेको हुन्छ, तर उसलाई लाग्दैन– उसले सोचेका, भोगेका र गरेका काम असामान्य हुन् । यस विषयमाथि उपन्यासकारको भनाइ छ– ‘न्यारेटर नै मानसिक रूपमा अस्वस्थ भएकाले उपन्यासका कुनै कुरा ‘जस्टिफाइड’ लाग्दैनन् । ऊ पूरै अस्वस्थ पनि होइन, त्यसैले उसका कुनैकुनै कुरा फेरि ‘जस्टिफाइड’ पनि लाग्छन् ।’ अमित र मुना बेलायतको कुनै युनिभर्सिटीमा भेट हुनु, एकअर्कालाई मन पराउनु, लिभिङ टुगेदरमा बस्नु र विवाह हुनु सामान्य र यथार्थ गतिविधि हुन् । यीबाहेकका अन्य गतिविधिहरू असामान्य छन्, जसले पाठकलाई भ्रम र यथार्थको चक्रमा घुमाइरहन्छन् ।
‘एक्सपेरियन्स द डेथ ः नियर डेथ एक्सपिरियन्स’ अर्थात् ‘मर्नुभन्दा पहिले नै मृत्युको अनुभव’, ‘एक्सपिरियन्स द अल्टरनेटिभ लाइफ’ अर्थात् ‘नभोगेको जीवनको अनुभव’ जस्ता प्राविधिसँग जोडिएका मानवीय संवेदनाको कल्पनाले किताबलाई प्रयोगधर्मी बनाएको छ ।

कोसेली

वधशाला लाइभ प्रकृति दाहाल

- कान्तिपुर संवाददाता

६ेकु, इनाटोल विष्णुमती खोला किनारमा छन्– ४० वधशाला स्टल । प्रवेशद्वारमै छ यत्रतत्र गोबर । भुइँभरि छ रगतैरगत । काटेर फालिएका मासुका टुक्रामा कागहरूको लुछाचुँडी छ । मासु काट्ने, ओसार्नेदेखि मोलमोलाई गर्नेसम्मको घुइँचो छ । मासु काटेको दृश्य जति बिदारक छ, काट्न ठिक्क पारेका रागा–भैंसीको अवस्था पनि उत्तिकै दयनीय छ । सानादेखि बूढा भैंसीसम्म काट्न तयार पारिएका छन् । ती छन्– दुब्ला–पातला, खुट्टा बांगिएका, आँखाभरि कचेरा र आँसुले भरिएका । न उनीहरू बस्ने बासस्थान व्यवस्थित छ न आहाराकै उचित व्यवस्था । चिसो भुइँमा कठ्यांग्रिएर उनीहरू मृत्यु कुरिरहेका छन् । वधशालाबाटै बिहान ९ बजेसम्ममा घरदेखि रेस्टुराँसम्म पुगिसकेको हुन्छ मासु ।
केही परको कीर्तिपुर, बाघभैरव वधशाला पुग्दा यहाँको दृश्य टेकुको भन्दा अलि फरक छ । यस वधशालमा टेकुमा झैं सालाखाला रागा–भैंसी काटिँदैन । साना पाडाहरू काटिए पनि काट्ने शैली एउटै देखिन्छ । भुइँमा रगत बगिरहेकै छ । एउटा कोठामा करिब १०, १२ पाडा कोचिएर बाँधिएका छन् । लाग्छ, तिनलाई सास फेर्न समस्या छ । एउटा बस्न अर्को उभिनुपर्छ । खिया लागिसकेका हतियारले काटेको मासु खिया लागिसेकेकै मेसिनमा जोखेर लैजान हतारमा छन् उपभोक्ता ।

वधशाला ऐन छ, कार्यान्वयन छैन
‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ अर्न्तगत वधशाला ऐनहरू निर्माण भएका छन् । तर, वधशाला नियाल्दा लाग्छ, ती नियम कतै पालना भएका छैनन् । पशु वध गर्नुअघि जचाउनुपर्ने, वध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, मासुमा छाप वा चिह्न लगाउनुपर्नेजस्ता थुप्रै ऐन छन् । ती ऐन कार्यान्वयन नगरे ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । तर, खुला स्थानमा लापरवाही तरिकाले काटिइरहेका छन् पशु । न स्वास्थ्य जाँच गरिन्छ न मासुको गुणस्तर जाँच हुन्छ । खुला रूपमा मासु बिक्री भइरहेको छ । व्यवस्थित वधशाला निर्माण भएका छैनन् । सरकारी निकायको पटक–पटकको अनुगमनले पनि वधशाला सुध्रिएका छैनन् ।
‘वधशाला अनुगमनका क्रममा देखियो पुरानो र फोहोरी मासु बेच्ने, रोगी जनावर काट्ने, गन्हाएर वधशालाभित्र छिर्नै नसकिने र मासुमा झिँगा भन्किएको,’ उद्योग वाणिज्य तथा आपूर्ति विभागका सहायक सूचना अधिकृत तथा निरीक्षण अधिकृत कमल भुसाल बताए । उनका अनुसार, मासु उपभोक्ताको स्वास्थ्यसँग सम्बिधित भएकाले पटक–पटक अनुगमन गरिन्छ, तर वधशालाहरूमा कुनै सुधार आएको छैन । जरिवाना तोकिए केही समय सुधार हुने र फेरि उही अवस्था दोहोरिने उनी बताउँछन् । भन्छन्, ‘स्वच्छ मासु बिक्री गर्ने बिक्रेतासँगसँगै उपभोक्ता पनि जिम्मेवार हुनुपर्छ ।’ सरकारी निकायको पटके अनुगमनले मात्रै वधशाला सुधार्न सम्भव नहुने इमाटोलमा २५ वर्षदेखि वधशाला सञ्चालन गर्दै आइरहेका विनोद खड्गी बताउँछन् । सम्बन्धित निकायको भूमिका प्रभावकारी र कानुन कार्यान्वयनको पक्ष बलियो नभएसम्म वधशाला सुधार्न मुस्किल हुने उनको भनाइ छ । भन्छन्, ‘हामीलाई पनि यो तरिकाले वधशाला सञ्चालन गर्ने रहर कहाँ छ र ? महानगर आउँछ अनुमगन गर्छ अनि व्यवस्थित गर भन्छ, तर हामीले कसरी व्यवस्थित गर्ने ? एउटा वधशाला व्यवस्थित गर्न कम्तीमा ५० देखि ६० लाख लगानी गर्नुपर्छ । हामीले लगानी कसरी गर्ने ?’

कति मासु खान्छ काठमाडौं ?
पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार, काठमाडौंमा दैनिक १०० को हाराहारीमा राँगा (दसैंमा २५० सम्म), र खसीबोका १ हजार देखि १२०० वटासम्म काटिन्छ । एउटा राँगाबाट कम्तीमा १५० किलो मासु निस्कन्छ भने बाख्राबाट २० केजीसम्म । उनी भन्छन्, ‘ठ्याक्कै तथ्यांक भन्न सक्ने अवस्था छैन, तर व्यवसायीसँग गरिएको कुराकानीका आधारमा हामीले यो डाटा संकलन गरेका हौं ।’ काठमाडौंमा राँगा, भैंसी, खसीभन्दा पनि बढी कुखुराको मासु खपत हुन्छ । सबैभन्दा बढी कुखुराको मासु खपत हुने तथ्यांकले बताउँछ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार, उपत्यकामा दैनिक ५ लाख किलो मासु खपत हुन्छ । उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे र तराईका जिल्लाहरूबाट कुखुरा आउँछ ।
मापदण्डविपरित पशु ढुवानी
पशु ढुवानी मापदण्ड २०६४ बुँदा ६ अनुसार, पशु ढुवानी गर्दा हलचल गर्न सकिने, घाउचोटपटक नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई एकआपसमा ठोक्किएर अंगभंग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्छ । बुँदा १७ (१) मा लेखिएको छ– पशु ढुवानी गर्दा गाडीमा जबरजस्ती कोचेर राख्नु हुँदैन । तर, पशु ढुवानीको दृश्य यस्तै छ त ? यी सबै कुरा कागजमै सीमित छ । वास्तवमा क्रूरतापूर्वक हत्या भइरहेको छ पशुको । काठमाडौंमा भारतदेखि तराईका जिल्ला बारा, सर्लाही, बर्दियाबाट राँगा, भैंसी ल्याउने गरिन्छ । ट्रकमा कोचकाच पारी, १८–२० घण्टासम्म यात्रा गराई ती पशुलाई काठमाडौं भित्र्याइन्छ । मुखमा डोरी बाँध्दै ल्याइएका पशुको नाकमा रगत हुन्छ, आँखामा आँसु र मुखमा फिँज चुहिइरहेको हुन्छ ।
५ वर्षदेखि काठमाडौंमा राँगा, भैंसी आपूर्ति गर्दै आइरहेका छन् अब्दुल मिया । उनी तराईका जिल्लाहरूबाट हाटहरूमा किनेर ती पशु काठमाडौं छन् । ३० देखि ४० हजारको हाराहारीमा पशु ल्याइसकेका छन् । एकपटकमा २० वटा भैंसी काठमाडौं भित्र्याउँछन् । सहज तरिकाले थोरै ल्याउँदा लगानी नै नउठ्ने भएकाले कोचेर भैंसी ल्याउन आफू बाध्य भएको भन्छन् उनी । ‘तर, पशुमाथि अन्याय भइरहेको छ’, उनको स्वीकारोक्ति छ । लामो यात्रापछि पशुहरू भोकै, तिर्खै आइपुगेका हुन्छन् । वधशालामा खानासमेत दिन सक्ने अवस्था नरहेको र तिनलाई भोकै वध गरिने उनी सुनाउँछन् ।

किन बन्दैनन् व्यवस्थित वधशाला ?
उपत्यकामा व्यवस्थित वधशाला छैनन्, जसका कारण उपभोक्ताहरू अस्वस्थ मासु खान बाध्य छन् । पशु सेवा विभाग र काठमाडौं महानगरपालिकाले पटक–पटक वधशाला निर्माणको कार्ययोजनासहित बजेट छुट्यायो, तर वधशाला व्यवस्थित बन्न सकेको छैन । पशु सेवा बिभागले २०६७ देखि हालसम्म करिब ५ अर्ब बजेट वधशाला निर्माणमा छुट्याइसकेको छ । तर, बजेट अन्यत्रै खर्च भएको बताउँछन् प्रवक्ता ढकाल । उनका अनुसार, उपत्यकामा वधशाला निर्माण गर्न स्थानको अभाव छ । ‘व्यवस्थित वधशाला निर्माण गर्न कम्तीमा ३० रोपनी जग्गाा चाहिन्छ’, उनी भन्छन्, ‘पशु होल्डिङ गर्ने, ल्यारेज गर्ने, सल्टिरिङ हाउस बनाउनेदेखि वध गरेपछिको सबै प्रत्रिया पूरा गर्न, फाहोर विसर्जन गर्न कम्तीमा ३० रोपनी जग्गाा आवश्यक हुन्छ । जग्गाकै अभावले उपत्यकामा वधशाला निर्माण नभएको हो ।’

बलिको कथा
मासुले मानिसहरूको संस्कृति र जीवनशैली नै परिवर्तन गरिरहेको बताउँछन् मानवशास्त्री सुरेश ढकाल । ‘करिब १५ लाख वर्ष पहिलेदेखि नै मानिसले मासु पोलेर खाने चलन रहेको विभिन्न अध्ययनहरूले भनेका छन्’, उनी भन्छन्, ‘मानिसहरू जब बासस्थान बनाएर खेतीपाती गर्न थाले, जनावर र जनसंख्याको सन्तुलन मिलाउन मानिसहरूले जनावर मार्न थाले । प्रकृतिको निश्चित नियम हुन्छ, हिउँद–बर्खा लाग्छ, तर जनावर लामो समयसम्म बाच्ने गर्छ, त्यसकारण हिउँदअघि नै जनावर मारेर मासु खाने चलन चल्यो, त्यसकारण दसैं मासु खाने चाड बन्यो ।’ प्रकृतिमा सन्तुलन मिलाउन विभिन्न देवी–देउताको कल्पना गर्दै पशुहरूको भोग सुरुवात थालेपश्चात् त्यसलाई बलिको रूप दिइएको उनी बताउँछन् । ‘आफूले खाएर अन्न बाँकी रहने भएकाले मानिसले मनोरञ्जन खोज्न थाले । त्यही रूपले विभिन्न जात्रा, भोजमा मासुले प्रवेश पाउन थालेको हो,’ उनी भन्छन्, ‘काठमाडौंमा खेती गर्न राँगा पाल्ने गरिन्थ्यो, उब्जनी प्रशस्त हुने भएकाले मासुलाई मनोरञ्जनका लागि प्रयोग गर्न थालियो, त्यही परम्परा हालसम्मै कायम छ । जब मानिस कृषिमा परनिर्भर हुन थाले, त्यसपछि बलिको आलोचना र नकारात्मक टिप्पणी हुन थाल्यो ।’
परापूर्वकालमा मानिसले आफ्नो क्षमता देखाउन पशु–हिंसा गर्न थालेको बताउँछन् संस्कृति–अध्येता भोगीराज चाम्लिङ । ‘आफूमा कति शक्ति छ, कति पशु हिंसा गर्न सकिन्छ, सोही अनुसार मानिसहरू आफूलाई बलवान् ठान्थे । शक्ति प्रदर्शन गर्दै देवीदेउताका विभिन्न प्रतीक बनाएर संकट टार्नेदेखि प्रकोप न्यूनीकरण गर्ने विश्वासका साथ भोग दिन थालियो । र, त्यही भोगले नै बलिको रूप लिँदै गएको हो’, उनी भन्छन्, ‘बलि र भोग दिनु भनेको मानिसले मासु खाने बहाना पनि खोजेका हुन् । मासु नखाने पशुको भोग दिने चलन छैन, जुन पशुको मासु खाने चलन छ, उसैको भोग दिइन्छ ।’

कस्तो मासु खाने ?
बजारको मासु स्वास्थ्यका लागि हाइजेनिक छैन भन्छिन् पोषणविद् सुनैना देवजू । ‘धेरैतिरबाट ढुवानी हुने र वधशालाहरू पनि स्वस्थ नभएकाले घरमा ल्याएर मज्जाले धोएर मात्रै होइन, त्यो मासु उसिनेर खानुपर्छ,’ देवजू भन्छिन्, ‘शरीरका लागि आवश्यक पर्ने प्रोटिन भए पनि मान्छेले आवश्यकताभन्दा धेरै मासु खाइरहेका छन् ।’ एक व्यक्तिलाई एक दिनमा ३ पिस फल मासु पर्याप्त हुन्छ भन्छिन् देवजू । पोलेको, फ्राई गरेको मासु शरीरका लागि हानिकार हुने भएकाले त्यो मासु नखान सुझाव दिन्छिन् ।
मासु किन्दा गुणस्तर र त्यसको सरसफाइमा ध्यान दिनुपर्ने बताउँछन् खाद्य व्यवस्था तथा गुणस्तर विभागका निरीक्षक बिजन श्रेष्ठ । ‘वधशालामा काटेर, झुन्ड्याएर राखिएको मासुभन्दा फ्रिजको मासु किन्दा राम्रो,’ उनी भन्छन्, ‘फ्रिजमा राखिएको मासु लामो समयसम्म खान सकिन्छ– कुखुराको ६ महिनासम्म, राँगाको १२ महिना र खसीको ६ देखि ९ महिनासम्म । काटेर झुन्ड्याइएको मासुमा जीवाणु उत्पादन भइसकेको हुन्छ । केही समय भएपछि फ्रिजमै राखिएको मासु रोज्नुस् ।’

Page 12
कोसेली

सियोले सिएको, छोट्टीले दिएको !

- नवीन विभास

 

एक ः भार भए पो घरवार
२०३४ पुस १५ ।
करेमा पड्कँदा साँझको पाँच बजेको छ । करेमा करेरेरेककक नथामिँदै राँकुलबोटमा झलौरी झर्छ । साँझ पर्न थालेपछि करेमा बास्छ, र करेमा बास्नुलाई गाउँघरमा करेमा पड्कने भन्छन् ।
करेमाको करेरेरे तालमा मौलाबोटबाट छोट्टी र जैपाबाट छोट्टे ठकानथलो राँकुलबोट पुग्छन् । बटुवाको पसिना ओभाउन बनाइएको राँकुली, नेपालीमा लाँकुरी, बोटमा अडेसिएको चौपारीमा भारेडोका बिसाउँछन् । बेलाबेला तिनका आँखा राँकुलबोटमास्तिर काठेकोलमा भर्खरै ओखरको घाट्रा पेलेर उकालिएका स्यान्लेकका कान्छा भुरा दम्पतीमा पर्छन् ।
मूल छोट्टे भीरपाटेभेनाका ओठमा भर्खर जुँगारेखी बसेका छन् । साढे पाँच फिटका गहुँगोरो भेनाका गोडा खाली छन् । घुँडादेखि कम्मरसम्म काँची कातेका छन्, त्यसलाई पेटीले कसक्क कसेर अड्याएका छन् ।
भीरपाटेका साथमा उनका जस्तै जुँगारेखी बसेका उनका मनपेटका स्हङ दुर्गे थापा र अरू भुराहरू छन् ।
मूल छोट्टी मीनाले कालो पनेलाको चोला, मसुरी गुनी लगाएकी छन् । रङ्ङिटे कपडाको गादा पारेकी छन् । थाप्लोमा फूल नभरेको सादा टावेल कसक्क गुथेकी छन् । नाकमा सुनको बुलाकी झुन्डिएको छ, कानमा चाँदीको चेप्टे । मीनाको स्हङ गवनसरी र अनसरी उनकै छाउलीका छन्, अरू भने भर्खरका भुरीहरू ।
छोट्टेछोट्टी भनेर प्रेमीप्रेमिकाजति नजिक पनि हुन सक्छन्, त्यसो नभए कुटुम्बेली लाग्नेचाहिँ निस्सै हुन् ।
छोट्टी बस्न जाँदा, जात्रा जाँदा र जमघटमा भाङ्ङु र अल्लोको धागोले बुनेको बोल्ला युवाले काँची कात्नु र युवतीले गादा पार्नु ‘सरम लाग्ने’ भइसकेको हुन्छ । घरमा भने उनै भाङ्ङु वा पुवा धागोले बुनेको भोङ्रा बोल्ला नै लगाउँछन् ।
छोट्टी बस्ने भनेको युवायुवती एकअर्कासँग झ्याम्मिने प्रीतिको रीति हो । ‘झम्–झम् वा झ्याम्म–झ्याम्म शब्दबाटै झाम्रे व्युत्पन्न भएको हो’ (कालीभक्त पन्त, विसं २०२८) । मगर भाषामा, झ्याम्मेको अर्थ झ्याम्मिनु, रत्तिनु वा परिचित हुनु हो । ‘झाम्रे शब्दले पँधेरो, मेलापात इत्यादि जुनसुकै स्थानमा आफ्ना उमेर समूहका हेलमेल भई गीत–नृत्यको माध्यमबाट मनोरञ्जन लिने क्रियाकलापलाई बुझाउँदछ’ (मीन श्रीस मगर, विसं २०७४) । माओवादीले पुँजीवादी ‘डेटिङ’ को संज्ञा दिएर ‘जनयुद्धकाल’ मा ‘झ्याम्म–झ्याम्म’ छोट्टी बस्न ठ्याम्म बन्देज लगाउँछ ।
ठकान बस्ने गते निश्चित हुन्छन्, एक वा पाँच, दस वा पन्ध्र, बीस वा पच्चीस । २०३४ पुस १५ गते छोट्टे र छोट्टी दुवै पक्षलाई बराबर दूरीमा पर्ने जैपा र मौलाबोटको बीच रानीकोटको राँकुलबोटमा ठकान राखिएको छ ।
महिनाको एकपालि ठकान बस्ने छोट्टे–छोट्टी आँखा घरीघरी एकअर्कालाई हेर्न कर्केगरी भुर्रभुर्र उड्छन्, घरीघरी तिनका अनुहारले पाक्न लागेको टमाटरको रूप लिन्छन् ।
के बोलम्, के बोलम्को बीचमा छोट्टे–छोट्टीलाई नक्कली खोकी लाग्छ । बेलाबेला सन्नाटा छाउँछ । सन्नाटाबीच छोट्टे प्रश्नको चुलो बाल्छन्, ‘भान्जी, तम्लई सन्चै छ ?’
छोट्टी जवाफ पस्कन्छन्, ‘अँ, मामा । तम्लई नि सन्चै छ ?’
ममा–भान्जीबीचको सम्बन्ध छोट्टे–छोट्टीको होइन, तैपनि रोल्पा रुकुमका मगर बस्तीमा अन्जान र छोट्टे–छोट्टीबीच कसरी मामा–भान्जी साइनो जुरेको होला ? सन्चोबिसन्चो सोधिएसँगै छोट्टीले भारेडोकाबाट मट्टे झिक्छन् । मट्टेको बिर्को खोल्छन् । कचौरामा खन्याएर भन्छन्, ‘लऊ, मामा ।’
लजाउँदै छोट्टे हात अग्रसर हुन्छन् । कटौरा हातमा लिएपछि भीरपाटे भेनाको ओठ फर्फराउँछ, ‘तमी गोस्या भेटा... ।’
फर्फराएको ओठसँगै चोर औंला डुबाएर चारैतिर सक्क फाल्छन् । सक्क फाल्नु पितृलाई चढाउनु हो । कचौराबाट जाँड सुरुप्प पार्छन् । छोट्टे र छोट्टीको बीचमा भोङ्रा बोल्ला फिज्छन् । बोल्लामा झाने रोटा र अचार राख्छन् । भुराभुरीले रोटामाथि हमला गर्छन् ।
गाउँघरका समाचारसँगै सुख–दुःख साट्छन् । छोट्टे–छोट्टीका धीत नमर्दै प्हनेरा र ताहिबाङ गाउँलेका घरमा बलेका आगो निभ्न थाल्छन् । छोट्टे–छोट्टीलाई लाग्छ, पत्तै नपाई गीत र सुख–दुःख नसकिँदै पुस फासफुस भइसकेछ ।
करेमा पड्केको करेरेरेककक सकिएकै चार घण्टा बित्छ, रातको नौ बज्न थाल्छ ।
छोट्टेले भारेडोकाबाट भाङ्ङु रेसाले बुनेको भोङ्रा बोल्लाको कुम्लो झिक्छन् । बोल्लामा पोको पारेको चिनो छोट्टीलाई हात पार्छन् । मूलचिनो बर्रे छ, जसको साथमा पार्सी बोलाउने, सम्झना बोल्ने चीज छन् ।
तीन मुर दुबा र चार मुर पाती गरी सात मुर दुबापातीको मुठालाई बाँधेको छ, भाङ्ङु ल्हाप्साले, जुन धागो बन्नुअघिको भाङ्ङुको रेसा हो । गाउँघरमा दिइने चल्तीको आशीर्वाद हो, ‘दुबो नै जेल्लेनू, पाती नै मौलनू ।’ ‘नै’ भनेको ‘झैं’ हो । मूलचिनोसँग राख्नुको अर्थ हो, छोट्टेछोट्टीको माया दुबोजसरी जेलियोस्, तीतेपातीजसरी मौलाओस् ।
दुबापातीको मुठासँगै म्हाय पात छ । माइसकरातीमा छोरीबहिनीलाई खिचडी दिनेदेखि माइत वा आफन्तकहाँ जाँदा वा ठकान बस्दाखेरि तेलमा पकाएको झाने रोटा होस्, टाटे रोटा होस्, म्हायपातको टपरीमा लैजाने चलन छ । टपरीभन्दा आठ–दस गुणा ठूलो उक्त टपरीलाई गाउँघरमा नाउँ दिएका छन्, पट्री । म्हाय पात राख्नुको अर्थ प्रेम नटुटोस् भन्नलाई हो । छ भने म्हायपातको पटरी, हाम्रो माया टुट्ला कसरी ?
म्हायपातसँगै उखुको पात छ, जसले बुझाउँछ, माया उखुजस्तै गुलियो र मधुर होस् । उखुको पातलाई तीन धार्नी शङ्खतरुल र दुई घरी केराले साथ दिएका छन् ।
मूल छोट्टी मीनाका हात मायाको ‘भार’ समाउन लजाउँछन् । एकछिनपछि चुपचाप समाउँछिन् । समाउँदाखेरि उनको मुहार भाङ बालेको उज्यालोमा लाल परेको टाठै देखिन्छ । भाङ बाल्ने भनेको जुनेली रातबाहेकका रातमा कतै जाँदा बाल्ने उज्यालो हो । सके सबभन्दा पहिले बालेको उज्यालो गाँजाको डाँठ हुँदो हो । कालान्तरमा भीमल, चोया बालेपनि भाङ बालेको भन्न थाले, गाउँघरमा टर्च बाल्दा पनि भाङ बाल्ने नै भन्छन् ।
भाङको आँखाले अघिअघि छोट्टी र पछिपछि छोट्टे हिँड्छन् । छोट्टीका घरभन्दा सय मिटर नजिकको डल्लुबोटनेर रोकिन्छन् । भीरपाटेको दिलचित जितेका स्हङ दुर्गे थापा उत्रा हान्छन् ः
उँधैखोली उमैखोली धोबिनाले धोम्ला
बानाबान होइजाम् तोला कैली भेटु होम्ला ह ककक

भीरपाटे र भुराहरूले थापा गला घाँस्छन् । मूल गायक या गायिकाको स्वरमा स्वर थप्नुलाई गला घाँस्ने भन्छन् । छोट्टीपट्टिबाट गवनसरी रानाको गला मीना र अनसरीले घाँस्छन् ः
हजारी गर्दौलीय लाउँदालाउँदै केटु
बानाबान होइजाम् तोला कैली होम्ला भेटु ककक

गीत मधुरिँदै जाँदा भाङको उज्यालोले बनेको छायामा हात हल्लाएको यामानको देखिन्छ । भाङको उज्यालोमा हात हल्लाउँदै नदेखिनेगरी खोरेखोलाबाटो छोट्टे लागेपछि मौनता सुसाउँछ । भल्दजुरे उक्लिँदा थापा एक्लै उत्रा हानिरहन्छन् ः
घाम डुबी जान लाइगे, सल्ली टुप्पा घाम छ
अलि दुगर पुत्ले घोरा, साईलाई भेट्ने काम छ ककक

छोट्टी डाँडा वारिपारि हुँदा उत्रा हान्नुपर्ने हो । सके आफ्नी तोला भेट्नलाई पो गाए, थापाले ? बिदा भएका छोट्टीले सुनेर उत्रा फर्काउने सम्भावना पनि त छैन । मगर साइनोअनुसार आफूभन्दा जेठो फुपूपुत्रलाई भेना भन्छन् । भीरपाटे भेना स्हेँला फुपूपुत्र हुन् । माइला बाजीकी छोरी धमिनी फुपूको कान्छा छोरा ।
गएको माघको दोपहरमा भेना आफूले चिनो दिएको बर्रेको बारेमा बताउँन्, ‘बाहिरबाट हेर्दा प’ भाङ्ङुको डोरा हो, भित्र त मायाको फोहोरा हो नि ।’ बर्रे बनाउने मेलोमेसो सिकाउँछन् ः
‘सबभन्दा पहिले भाङ्ङु ल्हाप्सा तयार पारेँ । बर्रे बुन्नलाई चाइने चीज फिर्की लिएँ । यो काठको पनि हुन्छ, चोयाको पनि । फिर्कीमा भाङ्ङु धागोलाई मसिनरी बटारेर डोरीजस्तै बनाएँ । जसलाई त्रिपल बनाएर टुक्राटुक्रा पारेँ । फिर्कीमा फेरि बटारेँ । चिल्लो गराउन धागोलाई घोटेँ । क्हाँनामा पनि मिलाएँ । बाँसको सुइराले बुनेँ । एकापट्टि डोरा हालेँ । तीन पय खपाएको ताना बनाएँ । भरन फिर्कीमा बातेर डबल बनाएँ । चिल्लो बनाउन फेरि घोटेँ । जति पय हो टिप्दै लगेर घुसारेँ । बात्दै गएँ । बुनेको भन्दा डबल र त्रिपल बनाएँ । जसलाई तुलेगाँठा भन्छन् । जसमा बर्रेको सर हाल्ने हो । एक हातजति लामो भए मुरेलो निब्जियो । तुलेगाँठामा राख्ने सर बनाउन पनि डोरी डबल अनि खपाउँदै त्रिपल बनाएँ । त्यसलाई पनि काठमा घोटेर चिल्लो पारेँ । चिल्लो बनाउन एक जना साथी वा किला ठोकेर त्रिपल बनाउने हो । घोटेर चिल्लो बनाउने हो । बीचको भाग गुभेसर हो । लामा ताना लगाएपछि डबल गरेँ । दुईवटा सर हुन्छन् नि । जसलाई काठमा ठोक्ने र एउटा डोरी फेरि काठमा टङ्ग्याउने, बीचको खुट्टामा चेपेर वरपर अमेठेँ । एउटा सरमा परपर बातेर सात सरको बन्यो । पाँच–सात हात लामो भयो । जो भारेडोका बोक्न ठिक्क हुन्छ । तुले गाँठा पार्ने सर राख्ने र मुरेलचाहिँ हरियो, रातो, पहेँलो रङ लगाएर रङ्गीन बनाएँ ।’
‘कति दिन लाग्यो, भेना ?’
‘छोट्टीलाई दिने भार तयार पार्ने दिन पनि गनिसाध्य हुन्छ तो, बड्डौ ? लागेको समय र कलाको हिसाबकिताब हुन्छ ? हुन्न ।’
पेटारामा साँचेको चिनो हातमा लिन्छन् । चिनोलाई सुम्सुम्याउँदै भेना भन्छन्, ‘पेटारामा राखेको छु, छोट्टीको चिनो । मरेपछि चढाउने थाईसँगै यो चिनो पनि चढाइदिन्छन् गरे ।’
राता, पहेँला, हरिया कपडाका ससाना टालाका कमकम गाँसेर हाते सियोले सिएको छ, थैली, जसको बाहिरी रूप रङ्गीन छ । सियोले सिउन कति समय लागेको होला ? जेलिएका धागो हेर्दा हिसाब निकाल्न कठिन छ ।
भेना घरी थैलीलाई ओर्काईफर्काई हेर्छन्, घरी नानालाई, छोट्टी हुँदा उनै नानाले दिएको चिनो जो हो । महिला भए छोट्टेको र पुरुष भए छोट्टीको चिनो थाईसँगै चढाइदिने चलन छ । शुद्धोको दिन मृतकलाई भनेर पकाएको खाना हो, थाई । अन्तिम खानाको रूपमा शुद्धो हुने दिन म्हाय पट्रीमा राखिदिन्छन् । मरे त सकिइहाल्यो, मृतक मुखमा पुग्ने कुरै भएन, काग, गिद्ध र कुकुर भने थाई खाएर अघाउँछन् ।
भीरपाटे दम्पती पालैशान्ति थैली हातमा लिन्छन्, त्यसका फुर्का र रङमा आँखा भिजाउँछन् । नाना भन्छिन्, ‘गाउँमा देसी कप्रा आउन थालेपछि थैली र बासा दिन चिनो थाल्याहम् । जेईहरूको पालामा मसिनोगरी, ढोङ्रामा अट्नेगरी बुनेको खास्साको बोल्ला बुनेर देने चलन थ्यो । त्यो बोल्ला कतिले भाङ्ङु धागाले बुनेका हुन्थे, कतिले पुवा धागाले ।’
नानाले टालोका कमकम गाँसेर बनाएको थैली चिनो सुम्सुम्याउँछिन्, ‘मेरो छाउलीका त जम्मैले थैली सेन्थिम् । दमैले कलमा चोला, गुन्ने, बुलुच र कपाले सिलाउँदा काटेका टालाटुली बटुली सिएको थैली हो ।’
भदौ बाह्र गते रोल्पाका गाउँघरमा दही बाँड्छन्, पिङ खेल्छन् । नानाकी मीत दिदीबहिनीले पिङ खेल्न बोलाएकाले मीतबा जैपाका लखवीर पुन एक्ले पोन बाजीको घर गएको बेला भीरपाटे भेनासँग मीना नानाका आँखा चार हुन्छ, नानालाई भदौ बाह्र भार हुन्छ, सोही बाह्रको भार नानाको घरवार हुन्छ ।
भदौमै पहिलो ठकान बस्छन् । ठकानथलो हुन्छ, मौलाबोट र जैपाको बीच भागमा पर्ने रानीकोटको राँकुलबोट । गाउँघरमा गीत नै छ, ‘घाँस काटेँ खर्सुको, दाउरा काटेँ कर्सि, साँच्चै माया लाने भए ठकान राखम् पर्सि ।’ ठकान समय तय गर्नु ठकान राख्नु हो, भेट भएर बस्नु ठकान बस्नु हो । मनोहर लामिछानेको ‘लोकवार्ताका केही पक्ष’ भन्छ, ‘मिति, समय र स्थान निर्धारणलाई लोकभाषामा ठगान भनिन्छ ।’
ठकान बस्दाबस्दा भीरपाटे भेना र मीना नानाको भार बढ्छ, घरवार गर्ने टुङ्गोमा पुग्छन् । भीरपाटे भेना मीना नानाको घर मौलाबोट पुग्छन् । दुई सय साई लगाउँछन् । साई लगाउनु भनेको बिहे पक्का गर्नु हो । युवतीले ‘साई’ समाएपछि, यदि युवाले उल्लङ्घन गरे साई पच हुन्छ, युवतीले गरे दोब्बर साईमासा तिर्ने चलन छ ।
उत्रा हान्दै बानाबान भएको चार महिनापछि २०३५ वैशाख २८ गते जैपामा गुर्कुच्ची गर्छन्, दमाहा, छेल्लर र सनाइसुरसहित ।
भीरपाटे भेना रणबहादुर पुनको घर मेरो घरभन्दा पश्चिमतिरको टोलमा छ । उनी रणयुद्धकाल, जनयुद्धकालमा कमरेड ऋषि बन्छन् । माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड भारतविरुद्ध सुरुङ युद्ध घोषणा गरेर रोल्पा जैपाको छिमेकी गाउँ प्हनेरा बस्दा होस्, न्हिमाङ गाउँमा बस्दा होस्, सुप्रिमो दानापानी सङाल्न अहोरात्र खट्ने कमरेड ऋषि नै हुन्, उनका छोरी र ज्वाइँ पनि रणयुद्धकालीन कमरेड नै हुन् ।

ॅकुछ इश्क किया कुछ काम किया’
जब पुग्यो साठी, अनि हातमा लाठी । साठीको लाठी लिएकी देशमाया राई पूर्वी सोलुखुम्बु मुक्लीकी हुन् । देशमाया भन्छिन्, ‘केटाले बाँसको बिनायो कपेर दिने मन परेकी केटीलाई चिनो दिने चलन थियो रे । चिनो बनाउन सिपालु गाउँमा दुई–चार जना न हुने हो, तिनैलाई बनाउन लगाएर दिन्थे रे । केटीले मन परेको केटालाई फुर्का दिन्थे । फुर्का विभिन्न रङका धागोले लोभलाग्दो बनाएको हुन्छ ।’
फुर्काको धागो लेकाली पाइने सिस्नो जाख्लीको रेसाबाट बन्छ । धागो बनाउन सबभन्दा पहिले जाख्लीलाई सुकाउँछन् । ढुङ्गामा बजार्छन् । बजार्दा जाख्लीको डाँठ धुलिँदै झर्छ, रेसा बच्छ । बचेको रेसालाई मुङ्ग्रोले कुट्छन् । रेसाको बाहिरपट्टिको भाग पनि झर्छ । रेसालाई ठूलो भाँडामा पानीमा खरानी हालेर पकाउँछन्, अनि जाख्लीको धागो तयार हुन्छ । कपासको धागोले फुर्काको जाख्ली विस्थापित गरिसकेको छ ।
बूढा रूखमा उम्रने वनस्पति हो, ओम्री । त्यसको पोथ्रा हुन्छ । एक हात जति लामो लहरा हुन्छ । लहराको आँखा हुन्छ । जाख्लीजसरी ओम्रीलाई पनि घाममा सुकाउँछन् । सुकेपछि ओम्री पहेँलो हुन्छ । ओम्रीको झुस फाल्छन् । ओम्रीको तल्लो र माथ्लो आँखा काटेर फाल्छन् । बीचको आँखाको दुलोभित्र धागो छिराएर तल फुर्का बनाउँछन् । धागोले झुन्डाउने जुइनो बनाउँछन् । ओम्री चार अङ्गुलजति भए पुग्छ ।
‘ओम्रीलाई पर्वते कुराबाट के भन्छ कुन्नि ? मनमै आएजस्तो लाग्छ तर अहिले भुलेँ । पर्वते कुराबाट बेग्लै छ,’ देशमाया नाउँ सम्झन कोसिस गर्छिन्, ‘यो ठूलाठूला रूखमा उम्रन्छ । लहराजस्तो हुन्छ, धेरै लामो भने हुन्न । फुल्छ पनि । ओम्रीमै फुर्का बुन्ने हो ।’
फुर्काको अर्को महत्त्वपूर्ण अङ्ग दुम्सीको काँडा कुरी चाचा हो । रोल्पातिर दुम्सीको काँडालाई स्हाँरा साइपिर्ला भन्छन् । अहिले कुरी चाचाको बदला बाबियो र ओम्रीको बदला धागो प्रयोग गरेको देखिन्छ । मन चोरी लएको युवकलाई युवतीले फुर्का चिनो दिन्छन्, त्यसलाई देब्रे छातीमा झुन्ड्याउनुपर्छ, दौरा वा चोलोको तुनानेर, जहाँनेर मुटु ढुकढुक गर्छ ।
नक्छुसेली वा नक्छुसेलिनी ‘धामी वा धमिनी’को सिडिमोमा पनि फुर्का हुन्छ । देशमायाका अनुसार, नेचाका थुलुङ र बाहिङ, मुक्लीका थुलुङ, सबैजसो महिलाले फुर्का बुन्न जान्दछन् ।
न्युयेन न्होककृत भियतनामी उपन्यास ‘द भिलेज द्याट उडन्ट डाई’ को खगेन्द्र सङ्ग्रौलाले ‘अजम्मरी गाउँ’ शीर्षकमा नेपालीमा अनुवाद गरेका छन् ।
‘त्यसदिन बिहान खेततिर जाँदा लिऊले नूपलाई थी ओम झरनामा भेटेकी थिई । ऊ चट्टानमाथि उभिएको थियो । उसका गोडामाथिबाट सुलुसुलु पानी बग्दै थियो । पानी शान्तसँग बग्दै थियो । तर, एकाएक रिसाएझैँ गरी पानी चट्टान वरिपरि कुर्ल्यो र चाँदीजस्ता छिर्का उँभो हुत्यायो । अँजुली थापेर नूप झरनाको पानी खाँदै थियो । एउटा अति राम्रो चुम लिऊतिर लम्काउँदै उसले भन्यो– यो म तिमीलाई टक्राउँछु ।
आनन्दले रातोपिरो हुँदै लिऊले चुम समाती । चुम कम्मरमा बाँधी र आफ्ना चम्किला काला आँखा लुकाउन मुन्टो निहुराई (विसं २०७८ ः १५) ।’
चुम ‘बा ना’ समुदायका महिलाले बाँध्ने पेटी हो । बाँसको असल चोयाबाट बुनिने चुम प्रेमको चिनो हो । प्रेयसीका निमित्त एउटा चुम बुन्न प्रेमीलाई एक मासजस्तो लाग्छ ।
नूपले लिऊलाई आफ्नो मायामा बाँधिराख्न प्रीतिको पेटी ‘चुम’ प्रेमोपहारस्वरूप टक्राउँछ ।
‘लिऊले दूका दुवै हात च्याप्प समाती । उसको निधारमा कपाल लत्रेको थियो । लाजले गाला रातापिरा पार्दै उसले मुन्टो हल्लाई– तिमीले नभाको कुरो गर्‍यौ । तिमीले नभाको कुरो गर्‍यौ । (विसं २०७८ ः १६–८) ।’
नूपले लिऊलाई चुमको माध्यमले मायामा बाँधेजस्तै रोल्पा रुकुमका गाउँघरमा छोट्टे–छोट्टीलाई भाङ्ङुको बोल्ला, भाङ्ङुकै बर्रेले एकअर्कालाई बाँधेका हुन्, भाङ्ङुको भारेडोकामा आफ्नो माया टक्राएर । ढुङ्ग्रोमै अट्ने बोल्ला र रङ्गीन बर्रे बुन्न सक्नु चानचुने प्रेम र कलाले कहाँ सम्भव हुन्छ ?
पशुपालन र कृषिकर्म गर्नेसँग बर्रे सधैं साथ रहन्छ, छोट्टेले छोट्टीलाई पलपल सम्झिऊन् भनेर बर्रे चिनो दिए होलान् । बोल्ला पनि काँची कातेर हिँड्ने भएकाले सदा साथ रहन्छ, त्यसैले छोट्टीले छोट्टेलाई बोल्ला चिनो रोजे होलान् ।
खास्साको बोल्ला काँची कातेका युवालाई गाउँघरतिर जिस्काउँछन्, ‘को छोट्टीको चिनो हो ? ओक्खो ! स्यानो स्वाया छैन, बाल् !’ काँची कातेको युवा लजाएर लाल हुन्छन् ।
चिनो दिने बोल्ला बुन्न मसिनरी धागो कात्छन् । नङमा प्वाल पारेर प्वालबाट भाङ्ङु धागो छिराएर आकार निर्धारण गर्छन् (सम्झना घर्तीमगरसँग २०७५ मङ्सिर ४ गते गरेको कुराकानी) । उक्त धागोले बुनेको बोल्लालाई सानो आकारमा बेरेर बाँसको ढुङ्ग्रोमा छिराउँछन् । छिर्‍यो भने, बोल्ला ‘बबाल’ कला ‘अब्बल’ मानिन्छ ।
बर्‍यो, जाबो बुन्देऊ बाबै, भाङाको डोरीले
घट्ट जाँदा थैलो बोक्ने, ठालुकी छोरीले
मनलाल ओलीको ठाडीभाकामा ठालुकी छोरी घट्ट जाँदा बोक्ने जाबी, बर्रे बुन्न आफ्नो सीपले नभ्याएपछि बाबुलाई छोराले अनुरोध गरेका छन्, चिनो चानचुने हुन पनि भएन नि । ठूल्भाउजू प्रेमकुमारी पुन फेरिएका चिनो अनुहार सम्झना सुनाउँछिन् ः
‘छोट्टीले धागो काती काँची कात्ने र गादा पार्ने बोल्ला, झुम्के थैली, टोपी, कमेज चिनो दिन्थे । छोट्टेले बर्रे, भारेडोका, करेम, बाँसको बीचमा डोराले बाँधेर जुम्रा झार्ने काङ्ङे, बीचबीचमा डोरीले जेलिएको पैसा हाल्ने सिम्ली, कोडोम, धागे झन, जाली खकन्ना, रुमाल चिनो दिन्थे । कक्कर खान प्रयोग हुने निगालो वा चोयाको कुल्पीमा बुट्टा भरेर दिन्थे ।’
रोल्पाली गाउँघर भारतीय कारखाने कपडाले छोपेपछि, माया मिसाएको चिनो दिने चलन चट् हुन्छ । बोल्ला काँची कात्नुको बदला पाइन्ट लगाउन थालेपछि मायामा बोल्ला र बर्रेको के भाउ ? माया मिसिएको कलाले बुनेका बोल्ला, बर्रे बदला देसी कारखानाले बुनेका कमिज, टोपी, गुन्यु, सारीले लिन्छ । वनसाङ्लाले घरसाङ्ला खेदेजसरी रैथाने उत्पादन खेदिएपछि हामी माया गर्न बिर्सिन्छौं । ‘इश्क’ गर्न थाल्छौं, ‘लभ’ गर्न थाल्छौं, ‘पिरिम’ गर्न छाड्छौं । ‘प्यार’ पाल्न थाल्छौं, मायाको ‘भार’ फाल्न छाड्छौं ।
फैज अहमद फैजको ‘कुछ इश्क किया कुछ काम किया’ स्मरण गरम् ः

कुछ इश्क किया कुछ काम किया
ओ लोग बहुत खुस किस्मत थे
जो इश्क को काम समझते थे
य काम से इश्की करते थे
हम जितेजी मसरुफ रहे

कुछ इश्क किया कुछ काम किया
काम इश्क के आगे आता रहा
और इश्के से काम उल्झता रहा
फिर आखिरकार तङ आ कर हम ने
दोनो को अधुरा छोड दिया

कोसेली

नेपाल–चीन सम्बन्धको 'डायरी’

- जगदीश्वर पाण्डे

 

कमलादीको प्रज्ञा प्रतिष्ठान परिसरमा पुस १६ मा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यको किताब ‘कूटनीतिक डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले चीनलाई बुझाउन फरक दुई भ्रमणका दृष्टान्त व्याख्या गरे । पहिलो भ्रमण ‘चेयरम्यान’ माओ त्सेतुङसँग सन् १९७० को दशकको सुरुवातमा बेइजिङमा भएको भेटवार्ता सम्झिए । प्रधानमन्त्री कृतिनिधि विष्टले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलको भ्रमणमा सहभागी थापा अर्थसचिव थिए ।
‘बेइजिङमा नेपाली प्रतिनिधिमण्डलले माओलाई भेट्यौं । र, नेपाललाई आवश्यक सहयोगको सूची दियौं । त्यस बेला माओले भन्नुभयो– नेपाल र हाम्रो आर्थिक अवस्था (आर्थिक अवस्था कमजोर) अहिले उस्तै छ । तर, हामी (चीन) ले सानो योगदान गरे पनि नेपालका लागि लाभदायक हुन्छ,’ थापाले सुनाएका थिए । साथै माओले आफू बूढो भइसकेको र युवाहरूलाई (तत्कालीन प्रधानमन्त्री चाउ एन लाई) के–के सहयोग गर्न सकिन्छ हेरेर प्रतिक्रिया दिने सन्देश भेटवार्तामा दिएका थिए ।
सहयोगको विषयमा माओले चाउ एन लाइसँग भेटेर कुरा गर्न पनि सल्लाह दिएका थिए । थापाका अनुसार, त्यस दिन बेलुकी आफू बसेको होटलमा प्रधानमन्त्री चाउ आएर भेटेको र होटलको लबीको सोफामा बस्दै उनले दिउसो माओलाई नेपालले दिएको सूचीमाथि चीनले सम्बोधन गर्ने आश्वासन दिएर फर्केको पनि बताए ।
पूर्वपरराष्ट्रमन्त्री थापाले सम्झेको दोस्रो भ्रमण हो– माओपछिका चीनका अर्का लोकप्रिय नेता देङ सियाओपिङको नेपाल आगमन । देङ सन् १९७८ मा नेपाल आएका थिए । त्यो भ्रमणमा पनि थापा सहभागी थिए । नेपाल सरकारले फेरि देङसामु चिनियाँ सहयोगका लागि सूची प्रस्ताव गर्‍यो ।
‘देङले नेपाललाई फाइदा हुने मात्रै होइन, दुई मुलुकलाई नै लाभ हुने परियोजना ल्याउन आग्रह गर्नुभएको थियो । यसले चीनको परिवर्तनलाई प्रस्ट पार्छ,’ थापाले सुनाए ।
थापाले दिएका दुई भ्रमणको उदाहरणले भन्छ– चीनले आफूलाई कसरी अघि बढाइरहेको छ ! देङ यस्ता पात्र हुन्, जसले सन् १९७८ देखि चीनलाई खुला बजार अर्थतन्त्रमा अघि सारेका थिए । चीनले त्यसैलाई पछ्याउँदै अहिले विश्व अर्थतन्त्रमा बलियो शक्ति बनिसकेको छ । देङ तीनै नेता हुन्, जसले ‘बिरालो सेता होस् या कालो, मुसा मार्ने भए भइगोनी’ भन्दै खुला नीति अवलम्बन गर्दै चीनलाई विश्व बजारमा पुर्‍याएका थिए । माओको कार्यकालमा नेपाललाई लाभ हुने गरी सहयोग गर्न चाहेको चीनले देङसम्म आइपुग्दा नेपाल मात्रै होइन, दुवै मुलुकलाई लाभ हुने परियोजना र कार्यक्रममा मात्रै सहयोग गर्ने प्रस्ट पार्‍यो ।
चीनले सन् २०१३ बाट अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (सुरुवातमा यसलाई वान बेल्ट वान रोड भनिन्थ्यो) ले पुरानो सिल्क रोड ब्युँताउने काम गर्‍यो । साथै समुन्द्री मार्गमा पनि विस्तार गर्‍यो । हालसम्म नेपालसहित एक सय ५१ मुलुकले बीआरआईमा हस्ताक्षर गरेका छन् । तर, नेता देङले त्यसबेला भनेजस्तै बीआरआईलाई चीनले कुनै एक मुलुकलाई केन्द्रमा राखेर भन्दा पनि दुईपक्षीय हितमा प्रयोग गर्न खोजेको देखिन्छ ।
आफ्नो ५ वर्षे कार्यकालमा चीनको परिवर्तनलाई नजिकै रहेर हेरेका चीनका लागि पूर्वराजदूत आचार्यले आफ्नो पुस्तक ‘कूटनीतिक डायरी’ मा नेपाल–चीन सम्बन्ध र अन्य विविध विषय उतार्ने कोसिस गरेका छन् । उनी २०५५ देखि २०५९ (सन् १९९८ देखि २००२) सालसम्म चीनका लागि आवासीय राजदूत भए । र, मंगोलिया, उत्तर कोरियाका लागि गैरआवासीय राजदूतका रूपमा पनि काम गरे ।
पूर्वराजदूत आचार्यले किताबमा राजदूत नियुक्ति प्रक्रियादेखि उता जानुअघि तत्कालीन राजा वीरेन्द्रसँग भएको भेटवार्ता, बेइजिङ यात्रा र ओहदाको प्रमाणपत्र बुझाउँदा तत्कालीन चीनका राष्ट्रपति जियाङ जमिनसँग भएका वार्ता उतारेका छन् । उनले बेइजिङमा दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) का राजदूतसँगको भेटको रमाइलो पनि उल्लेख गरेका छन् । अर्कोतिर बेइजिङस्थित भारतीय दूतावासका प्रतिनिधिले नेपाली दूतावासका गतिविधिलाई निगरानी गरेको विषय पनि बाहिर ल्याएका छन् ।
आचार्यले किताबमा कालापानीबारे चिनियाँ चासो, नेपाल–चीनबीचको पारवहन सन्धिको मस्यौदा तयारी, बेइजिङमा सिक्किम सम्बन्धी चासोलाई व्याख्या गरेका छन् । उनले कालापानीको विषयमा चिनियाँ अधिकारीसँग धारणा मागेको र उक्त क्षेत्र नेपालको भएको जानकारी दिएको पनि लेखेका छन् । चीनका पदाधिकारीले त्यस विषयमा आफूलाई जानकारी प्राप्त भएपछि भारतसँग त्यस क्षेत्रमा कुनै पनि सहकार्य नगर्ने वाचा गरेको पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सन् २००१, नोभेम्बर १५ मा ‘कालापानी क्षेत्र भारत र नेपाल बीचको विवादित भूभाग हो । यसलाई दुई देशले आपसी संवादका आधारमा टुंग्याउनेछन्’ भन्ने उल्लेख गरिएको टिप्पणी पनि समावेश छ ।
तर, सन् २०१५, मे– १५ मा नरेन्द्र मोदीको चीन भ्रमणका बेला नेपाललाई थाहै नदिई दुई मुलुकबीच लिपुलेकलाई चीन र भारतको व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता गरे, जसले नेपाललाई निराश बनायो । लगत्तै नेपालले विरोधस्वरूप कूटनीति नोट पनि बेइजिङ र नयाँ दिल्लीलाई पठाएको थियो, जसको जवाफ लिखित रूपमा दुवै मुलुकले नेपाललाई हालसम्म पठाएका छैनन् । चीनका अधिकारीहरूले भने उक्त सम्झौतामा नेपालको आपत्ति हो भने पुनरवलोकन गर्न सकिने तत्कालीन परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँगको भेटवार्तामा मौखिक रूपमा मात्रै बताएका थिए ।
नेपालमा संवैधानिक राजा रहँदै आफ्नो नियुक्ति भएर होला लेखक, पूर्वराजदूत आचार्य राजसंस्थाप्रति केही नरम देखिएका छन् । आचार्यको यो पुस्तकले कुनै ठूलो विषय उठाएर समाधानको बाटो दिनेतिरभन्दा पनि केही महत्त्वपूर्ण सूचना बाहिर ल्याएको छ । ती सूचना नेपाल–चीन सम्बन्धका विषय बुझ्न मात्रै होइन, नेपालको समग्र भूराजनीतिक परिवेश बुझ्न महत्त्वपूर्ण दस्तावेज हुनेछन् । पुस्तकमा ससाना भाषिक त्रुटि छन् । तर, विषयवस्तुको गम्भीरता, लेखकको स्पष्ट प्रस्तुतिले राजनीतिक, कूटनीतिक र अन्य क्षेत्रमा काम गर्ने पाठकका लागि किताब उपयोगी छ ।