You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

किसानका कार्यक्रम, परामर्शदातालाई ८९ करोड

- राजु चौधरी

(काठमाडौं)
कृषि विकास शीर्षकमा अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थाहरूको ऋण तथा अनुदानमा चलेका परियोजनामा परामर्शदाताका नाममा अनियन्त्रित खर्च भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेका चार आयोजनाका परामर्शदाताले ८८ करोड ७७ लाख खर्च बुझेका छन् । तर, कतिपय योजनाको दुई तिहाइ समय सकिँदा प्रगति भने एक तिहाइ पनि भएको छैन ।
विश्व बैंकको ऋण सहयोगमा आर्थिक वर्ष ०७७/७८ देखि ग्रामीण उद्यमशीलता तथा आर्थिक विकास आयोजना सञ्चालन गरिएको हो । त्यस्तै, अन्तर्राष्ट्रिय कृषि विकास कोषको ऋण तथा अनुदान सहयोगमा ०७५/७६ देखि कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको थियो । यही वर्ष अन्तर्राष्ट्रिय कृषि तथा खाद्य सुरक्षा कार्यक्रम (जीएएफएफपी) को आईडीएमार्फत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सुरु भएको थियो । त्यसको अघिल्लो वर्ष उत्पादन र उत्पादकत्व वृद्धि, मूल्य शृंखला विकास, जलवायु अनुकूल प्रविधिहरूको विकास र उपयोग गर्ने उद्देश्यले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सुरु गरिएको थियो ।
चार आयोजनामा ०७८/७९ सम्ममा ५ अर्ब ८१ करोड १४ लाख खर्च भएको छ । यीमध्ये परामर्श सेवाका नाममा मात्रै सरकारले ८८ करोड ७० लाख खर्च गरेकामा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । ‘परामर्श सेवामा कुल खर्चको २.५९ देखि २२.२५ प्रतिशतसम्म खर्च भएको देखिन्छ, दुई आयोजनाले आयोजना कार्यान्वयन, अनुगमन र मूल्यांकनसमेत परामर्शदाताबाट गराएका कारण परामर्श सेवा खर्च बढ्न गएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजना कार्यान्वयन, अनुगमन र मूल्यांकन, खरिद, लेखालगायत आयोजनाका जनशक्तिले गर्न सक्ने कामका लागि परामर्श सेवा खरिद नगरी नेपाल सरकारकै जनशक्तिबाट गराई यस्तो खर्चमा नियन्त्रण गर्नुपर्छ ।’
व्यक्ति वा संस्थालाई परामर्शदाताका रूपमा नियुक्त गरेपछि बजेट हेरेर १० देखि ३० प्रतिशतसम्म कमिसन कृषि मन्त्रालयका हाकिमहरूले उठाउने गरेको कृषिकै अधिकारी बताउँछन् । कमिसनकै लोभमा आयोजनाका अधिकारीहरूले परामर्श सेवाका नाममा खर्च बढाउँछन् । परामर्शमा भारी रकम खर्चिए पनि उत्पादन, उत्पादकत्व र त्यसले जीडीपीमा पुर्‍याएको योगदानबारे लेखाजोखा हुनुपर्ने अर्थविद् केशव आचार्यको भनाइ छ । ‘सेवानिवृत्त कर्मचारीले परामर्श सेवा पाउनकै लागि विदेशी डोनरसँग सम्पर्क गर्छन् । यसमा आयोजना प्रमुखको मिलेमतो र राजनीतिक दबाब पनि हुने गरेको छ,’ उनी भन्छन्, ‘चार आयोजनाबाट परामर्श शीर्षकमा करिब ८९ करोड खर्च भएको देखिए पनि उत्पादन र रोजगारीमा त्यसको प्रतिफल छैन । यसको नियमन जरुरी छ ।’
यी आयोजनाको प्रगतिमा पनि महालेखाको प्रतिवेदनले प्रश्न उठाएको छ । अन्तर्राष्ट्रिय कृषि विकास कोषको ऋण तथा अनुदान सहायतामा सञ्चालन भइरहेको कृषि क्षेत्र विकास कार्यक्रमबाट कर्णालीको पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गर्ने उद्देश्य राखे पनि यसमा सार्थक काम नभएको महालेखाको भनाइ छ ।
आयोजनाले १५–४९ वर्षका २४ हजारभन्दा बढी महिलालाई १० खाद्य समूहमा समाहित गर्ने, ३५ हजार घरधुरीको गरिबी न्यूनीकरण गर्ने र २६ हजार घरधुरीको आय दोब्बर गर्ने लक्ष्य राखेको छ । ‘आयोजनाको ६ वर्ष अवधिमध्ये ४ वर्ष व्यतित हुँदा भौतिक प्रगति २८.१२ प्रतिशत र वित्तीय प्रगति १३.८४ प्रतिशत छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘कुल लागत ६ अर्ब ९४ करोड ५२ लाखमध्ये ९६ करोड १२ लाख खर्च भए पनि त्यसको पनि अपेक्षित प्रतिफल प्राप्त भएको देखिएन ।’ आयोजना सुरु भएको चार वर्ष बितिसक्दा लक्ष्यको आधाभन्दा कम घरपरिवारमा आयोजना पहुँच पुगेको छ ।

खाद्य तथा पोषणा सुरक्षा सुधार आयोजनाको समस्या पनि उस्तै छ । यो कार्यक्रम भूकम्प प्रभावित गोरखा, धादिङ, सिन्धुपाल्चोक र दोलखा अनि बाढी प्रभावित धनुषा, महोत्तरी, सिरहा र सप्तरीसमेत गरी ८ जिल्लाका १६ पालिकामा सञ्चालन भइरहेको छ । तर आयोजनाको लक्ष्यअनुसार अन्नबाली, तरकारी बाली, मासु र दूध उत्पादनको लक्ष्य हासिल हुन सकेको छैन । नियमविपरीत काम भएकोसमेत प्रतिवेदनमा औंल्याइएको छ ।
‘सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ (११) मा लाभग्राही समूहले कार्य सम्पन्न गरेपछि सार्वजनिक निकायले कार्य सम्पन्न प्रतिवेदन तयारी गरी अभिलेख राख्नुपर्ने व्यवस्था छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘आयोजना क्लस्टर एकाइ, धनुषाले साना सिँचाइ कार्यक्रमअन्तर्गत विभिन्न २७ कृषक समूहलाई स्यालो ट्युबवेल जडान गरी किसानले पेस गरेको बिलका आधारमा ३८ लाख ९९ हजार भुक्तानी दिइएकामा कार्य सम्पन्न प्रतिवेदन तयार नै गरिएको छैन । सार्वजनिक निकायबाट उपलब्ध गराएको अनुदानको सदुपयोग भए/नभएको यकिन गर्न नियमित अनुगमन गरी प्रतिवेदन बनाउनुपर्छ ।’
ग्रामीण उद्यमशीलता तथा आर्थिक विकास आयोजना मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, भालुवाङ–रोल्पा राजमार्ग र महाकाली राजमार्गसमेत ५ मुख्य आर्थिक करिडोर आसपासका ३५ जिल्लाअन्तर्गतका १७१ पालिकामा सञ्चालन भइरहेको छ । ग्रामीण उद्यमशीलता विकास गर्ने उद्देश्यले विश्व बैंकको ऋण सहयोगमा २०७७/७८ देखि यो आयोजना सञ्चालन हुँदै आएको छ ।
‘आयोजना अवधिमा ९४० उत्पादन साझेदार छनोट गरी स्वीकृत प्रस्तावबमोजिम अनुदान प्रदान गर्ने, १ सय साना तथा मझौला उद्यमलाई व्यवसाय सञ्चालनबारे प्रशिक्षित गर्ने, ५ हजार ७ सय जना कोभिड प्रभावितलाई नगदमा आधारित श्रमका आधारमा रोजगार प्रदान गर्ने लक्ष्य रहेकामा आयोजना सुरु भएको दुई वर्षभित्र ती कार्य थालिएको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘प्राविधिक सहायता फर्म छनोट नभएको, उत्पादक संस्था एवं साझेदारहरूलाई स्टार्टअप ग्रान्ट उपलब्ध गराउने कार्यक्रम रहेकामा त्यससम्बन्धी कार्यविधि स्वीकृत नभएको, प्रादेशिक बजार निर्माण ४ र पालिकास्तरमा ९० कृषि तथा पशु सेवा केन्द्र निर्माणको कार्यक्रम रहेकामा कृषि पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि निर्माणमा ढिलाइ, पालिकाबाट उपलब्ध गराउनुपर्ने जग्गा प्राप्तिमा केही स्थानमा विवाद, पालिकास्तर मूल्य शृंखला निर्माण सञ्चालनमा गति लिन सकेको छैन ।’
नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाले ५ वर्ष बित्दासम्म न्यून खर्च गरेकाले उद्देश्यअनुसार सफल भएको छैन । सार्वजनिक निकायबाट उपलब्ध गराएको अनुदानको सदुपयोग भए/नभएको यकिन गर्न नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । ‘आयोजनाले यस वर्षसम्म पहिलो र दोस्रो चरणमा सम्झौता भएका उपआयोजनालाई पहिलो, दोस्रो र अन्तिम किस्ताबापत ४२ करोड ३५ लाख अनुदान दिएकामा उक्त रकमबाट सम्झौताबमोजिम कार्य भए/नभएको, अनुदानबाट खरिद वा निर्माण भएका मालवस्तुको उपयोग भए/नभएको, अनुदानग्राही समूहको स्थितिमा सुधार भए/नभएको सम्बन्धमा नियमित अनुगमन गरेर प्रतिवेदन बनाउनुपर्ने पक्ष कमजोर देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो वर्ष आयोजनाले ५ सय लिटर क्षमताका १५ र १ हजार लिटर क्षमताका ४५ समेत ६० चिलिङ भ्याट बोलपत्रका माध्यमबाट खरिद गरी २ करोड ३१ लाख ७२ हजार भुक्तानी गरेकामा सामानको गुणस्तर परीक्षण गराएको देखिएन ।’

मुख्य पृष्ठ

महिला मन्त्रालय : योजना बनाउँदै, थन्क्याउँदै

- कान्तिपुर संवाददाता

(काठमाडौं)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यान्वयन गर्नै नसक्ने कार्यक्रम र योजना बनाउँदा बजेट त्यसै थन्किएको छ । महत्त्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्न नसक्दा लैंगिक सशक्तीकरण र समानता लक्ष्यको प्रगतिमा समेत असर परेको छ ।
०७८/०७९ मा लैंगिक सशक्तीकरणको सूचकांक ०.६२ पुर्‍याउने लक्ष्य राखिएकामा प्रगति ०.५६ मात्रै छ । लैंगिक असमानता ०.४३ सूचकांकमा झार्ने लक्ष्य ०.५५ मा सीमित छ । लैंगिक विकासको सूचकांक ०.९५ र प्रजनन हकमा महिलाको निर्णय ७४ प्रतिशत पुर्‍याउने अपेक्षित लक्ष्य हासिल भएको छैन ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार लैंगिक हिंसा निवारण कोष, मानव बेचबिखनपीडित पुनःस्थापना कोष, ज्येष्ठ नागरिक कोष, केन्द्रीय आपत्कालीन बाल उद्धार कोषलगायत ५ वटा कोषमा कुल २२ करोड ३१ लाख ४८ हजार जम्मा गरिएकामा यस वर्ष ९.१८ प्रतिशत मात्रै खर्च भएको छ । लैंगिक हिंसा निवारण कोष र मानव बेचबिखनपीडित पुनःस्थापना कोषले २ करोड ४ लाख ९४ हजार मात्रै खर्च गर्न सकेका छन् । अघिल्ला आर्थिक वर्षको मौज्दात २१ करोड ३ लाख २८ हजार थियो । यस आवमा १ करोड २८ लाख २० हजार थपेर २२ करोड ३१ लाख ४८ हजार पुर्‍याइएको थियो ।
हिंसापीडित महिलाको पुनःस्थापनाका लागि मंगला–सहाना दीर्घकालीन पुनःस्थापना केन्द्र निर्माण गर्न ४० लाख विनियोजन भएको थियो तर निर्माण प्रारम्भ नै भएन । महिला मन्त्रालयले ६ स्थानीय तहलाई बहुआयामिक नमुना ग्राम निर्माणका लागि छनोट गर्न विस्तृत परियोजना प्रतिवेदन बनाउन ७० लाख वित्तीय हस्तान्तरण गरे पनि प्रगति प्रतिवेदन बुझाएको छैन । ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी सय स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्न २ करोड वित्तीय हस्तान्तरण गरिएकामा कार्यान्वयन भएन । प्रत्येक प्रदेशबाट २० महिला उद्यमी र उद्यमी महिला समूहलाई उद्यमशीलता प्रवर्द्धन गर्न पुँजी र प्रविधिका लागि ३ करोड १५ लाख वित्तीय हस्तान्तरण गरिए पनि कार्यक्रम सुरु नै भएको छैन ।
मानव विकास सूचकांकमा पछाडि परेका १ सय ११ स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको ९ करोड ८८ लाखको जीविकोपार्जन सुधार कार्यक्रम पनि थालिएको छैन । दलित, अल्पसंख्यक, अतिसीमान्तकृत महिला र किशोरीको बाहुल्य रहेको स्थानमा सातै प्रदेशका ६ हजार ३ सय ७१ घरधुरीलाई ‘बहुआयामिक नमुना ग्राम’ बनाउन ६२ लाख २५ हजार विनियोजन भयो तर कार्यान्वयन भएन ।
सात वर्षअघि काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र पारिएको ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ मा खर्च नभएको अनुदान रकम फिर्ता गर्नु भनी महालेखाको ६० औं वार्षिक प्रतिवेदनले पुनः ताकेता गरेको छ । संकल्प नेपाल संस्थाले ज्येष्ठ नागरिक ग्राम बनाउन महिला मन्त्रालयबाट ६ करोड १ लाख अनुदान पाएको थियो ।
हाल राष्ट्रिय महिला आयोगकी अध्यक्ष रहेकी कमलाकुमारी पराजुली संकल्पको अध्यक्ष हुँदा अनुदान लिएर २० रोपनी सरकारी जग्गामा संरचना निर्माण थालेकी थिइन् ।

सरकारी ढुकुटीबाट त्यति ठूलो रकम खर्च भएको संरचनामा अनियमितता भएको भन्दै ०७८ माघ २४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला मन्त्रालयमा उजुरी परेको थियो । गत जेठ २० मा उच्च अदालत पाटनमा दायर मुद्दा गरिएको थियो ।
असोज १ मा भएको उच्च अदालत फैसलाले मुद्दा यथाशीघ्र टुंगो लगाउनु भनी अख्तियार, महिला मन्त्रालय, संकल्प नेपाल र कमलाकुमारी पराजुलीविरुद्ध निर्देशानात्मक आदेशसमेत जारी गरिसकेको छ । रकम फिर्ता गर्न भनी महालेखाले यसअघिका प्रतिवेदनमा पनि ताकेता गर्दै आएको छ । ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ जस्तै अर्को संस्थाले समेत ९ करोड १ लाख पाएको अनुदान रकममा खर्च नभएको फिर्ता गर्न ताकेता गरेको छ । भृकुटीमण्डपमा फनपार्क र बाल उद्यानको आय ठेक्का पारदर्शी नभएको भन्दै समाज कल्याणका पदाधिकारीमाथि प्रतिवेदनले प्रश्न उठाएको छ ।

मुख्य पृष्ठ

वडा कार्यालय पुग्नै ६ घण्टा पैदल

- विप्लव भट्टराई

(इलाम)
इलाम सम्झनेहरूको मगजमा आउँछ कान्लैकान्लामा हरियो चियाबारी, पहाडैपिच्छे घुम्ती काटेर बनाइएका चिल्ला सडक । चियाबारीको यो जिल्लामा सबै ठाउँ सुगम मात्र छैन । यस्तो बस्ती पनि छ जहाँ अझैसम्म न बाटो पुगेको छ न त बिजुली । इलामका ८१ वटा वडामध्येको त्यो दुर्गम हो चुलाचुली–६ साकफारा । यहाँ वडा कार्यालय नै पुग्न पनि आसपासका बासिन्दाले दिन माया मारेर
कम्तीमा ६ घण्टा पैदल यात्रा गर्नुपर्छ । आधा बस्ती तराई र आधा पहाडी भूभागमा छ ।
मोरङ सीमावर्ती तोरीबारी र गाउँको सिरान दशमीमा वडा कार्यालय राखिएको छ । तर, बीच गाउँका बासिन्दाका लागि दुवैतिर पुग्न उत्तिनै धाउनुपर्छ ।
सडक नहुँदा सरकारी सेवा पाउन निकै सास्ती छ । कसैसँग रिस
उठ्दा ‘साकफारा पुर्‍याइदिउँला’ भन्ने चलन छ । कारण हो, पूर्वाधार विकास नहुँदा फेरिन नसकेको
उक्त बस्ती ।

साकफारा गाउँ पाँचथरको मिक्लाजुङ गाउँपालिका र मोरङको रमितेखोला र मधुमल्लासँग सीमा जोडिएको छ । मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै चुरेको
अप्ठ्यारो भूभाग छिचोलेर साकफाराको फुङनाम पुगिन्छ । तराईसँगको सीमा मुस्किलले १२/१३ किलोमिटर वरपर भए पनि यहाँ सडक सहज हुने छाँट छैन । ‘समस्या देखेरै अहिले फुङनाममाथिको गाउँमा अर्को कार्यालय खोलेर वडाको सेवा दिने तयारीमा छौं,’ चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भने, ‘ठूलो र कठिन भू–बनोटका कारण साकफारा क्षेत्रवासीलाई असुविधा छ । वडाको सेवा ३ वटा केन्द्रबाट दिने व्यवस्था गर्दै छौं ।’ यो वडाको जनसंख्या ३ हजार २
सय ७० छ ।
सडकको आसैआसमा गाउँलेको पुस्तौं बितेको छ । पिठ्युँमा भारी र थाप्लोमा नाम्लोको डामले कहिले नछाडेको गाउँलेको पीडा बिरामी हुँदा अझ दयनीय बन्छ । फुङनाम र आसेटारवासीले पश्चिमबाट जाँदा लुवा, बुवा, नुनसरी खोला तरेर मोरङ टाँडीको साखरे हुँदै, पूर्वबाट मावा खोलैखोला पैदल हिँडेर मधुमल्ला बजार र चुलीको बाटो भएर तराईका हस्पिटल पुग्नुपर्छ । ‘आकस्मिक घटना र डेलिभरी हुँदा ठूलो समस्या छ,’ फुङनामस्थित सामुदायिक स्वास्थ्य एकाइकी अनमी रेखा खनालले भनिन्, ‘कम्तीमा बर्थिङ सेन्टर भइदिए यहाँकाले ठूलो राहत पाउने थिए ।’ उक्त इकाइमा २ जना मात्र रहेको र कार्यालयको सञ्चालनदेखि ओपीडी, खोप, गाउँघर क्लिनिक, गर्भवती, सुत्केरी जाँच, ज्येष्ठ नागरिक जाँचलगायत काम गर्नुपर्दा थप समस्या भएको उनको भनाइ छ । यो स्थानमा अझै पनि घरमा नै सुत्केरी गराउने चलन छ । गाउँका कम्तीमा १० प्रतिशत मात्र अन्यत्र अस्पताल गएर सुत्केरी गराउने गरेको स्थानीय बताउँछन् । बर्खायाममा त तराईका सहरमा कोठा
नै लिएर बस्नुपर्ने अवस्था भएकाले थोरै मात्र अस्पतालसम्म पुग्ने गरेका हुन् । वडाको दशमीमा स्वास्थ्य केन्द्र छ भने तोरीबारीमा गाउँघर क्लिनिकले स्वास्थ्य सेवा दिइरहेको छ ।
स्थानीयले यातायातका लागि पहल नगरेका होइनन् । पहिले मावा खोलैखोला हिउँदयाममा गाडी चल्थे । बर्खा लाग्नासाथ बाटो बगाएर लैजाने भएपछि उनीहरूले चुरेमा खोलेको ट्र्याकलाई विकास प्राथमिकतामा राखेका छन् । गाउँ पुग्ने आधा भागसम्म बलजफ्ती यातायातका साधन चलाउने गरिए पनि यात्रा जोखिमपूर्ण हुने गरेको छ ।
सुगम जिल्ला इलामको दुर्गम क्षेत्र साकफारा सदरमुकामबाट सबैभन्दा टाढा छ । यात्रा गर्दा आङ सिरिंग हुने सडक चुरेको टुप्पोबाट खोलिएको छ । सडकका दुवै भागको फेदमा दुई खोला बग्छन् । यसैले पनि उक्त सडकको यात्रा निकै जोखिमपूर्ण छ । पश्चिमबाट धेमे र पूर्वबाट लुकुवा पहिरो, अनि दक्षिणबाट पुवा खोला पहिरोका कारण फुङनाम र आसेटार जोखिममा छन् । उक्त क्षेत्रवासी मोरङको मधुमल्ला बजारमा नै निर्भर छन् । ‘डरलाग्दो भीरपहरा छिचोलेर दालचामल किन्न मधुमल्ला नपुगी धर नै छैन,’ स्थानीय दीपक श्रेष्ठ भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो आवश्यकता भनेको सडक हो ।’
बर्खामा यो क्षेत्रका बासिन्दा पालिका केन्द्र र सदरमुकामसँग छुट्टिएझैं हुन्छन् । मधुमल्ला, तोरीबारी, फुङनाम हँॅदै पाँचथरको रविसम्म जोड्ने सडक २०२६ सालमा शिलान्यास भएको हो । उक्त खण्डको २०२९ सालमा सिक्रेसम्म ट्र्याक खोलिएको स्थानीय बताउँछन् । धेरै कष्टका साथ केही वर्षअघि मात्र तोरीबारीदेखि पाँचथर दारे गौणा सिमानासम्म करिब ३० किलोमिटर ट्र्याक खोलिएको छ । सडक निर्माण भने अघि बढेन ।
गाउँले कुचो र अदुवालगायत बेच्न तराईका बजार पुग्छन् । नुन, तेल, चामल भारी लिएर घर फर्कन्छन् । हिउँदमा आधा बाटो गाडी पुग्दा पनि केही राहत हुन्छ । साकफारा–फुङनाम–आसेटारका बासिन्दाको पूर्वाधारमा पहिलो ठूलो खाँचो चुलीको बाटो हो । आसेटारबाट १३ किलोमिटर चुली छिचोल्दा मधुमल्ला पुगिन्छ । मधुमल्लादेखि दशमीसम्मको दूरी ३२ किलोमिटर छ । पर्यटकीय क्षेत्र मिक्लाजुङ छुट्ने बाटो कुनै लामो पुलबिना पाँचथरको सीमासम्म पुग्न सक्ने भएकाहरूले प्राथमिकता दिइनुपर्ने स्थानीयको भनाइ छ ।
राई, नेवार, तामाङ, मगर, लिम्बू बहुल बसोबास रहेको साकफारामा कतिपयले सौर्य ऊर्जामार्फत काम चलाएका छन् भने केहीका घरमा लघु जलविद्युत्को बिजुली पुगेको छ । निम्न परिवारका धेरै अहिले पनि टुकीको भरमा छन् । उक्त वडामा पर्ने मावा तोरीबारी, कर्केनीटार, सिके, सिस्नेटार, फुङनाम, कोलबोटे, आसेटार, सुनारे, दशमी, कालापानीलगायत गाउँमा विद्युत् विस्तार हुन सकेको छैन ।

Page 2
म्यागेजिन

दिल्ली अब 'दूर’ रहेन तर नेपालीको दुःख अझै छुटेन

- अर्जुन शाह

(धनगढी)
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–४ भौने गाउँका २३ वर्षीय खगेन्द्र महतारा भारतको केरलामा मजदुरी गर्थे । रुघाखोकी र ज्वरो आएको केही दिनमै गत फागुन २७ मा उनको उतै मृत्यु भयो । परदेशबाट शव ल्याउन परिवारलाई हम्मेहम्मे पर्‍यो । बाबु पुरी महतारा र गाउँलेले आफ्नै गाउँ ल्याएर सद्गत गर्न कस्सिए । तर, सजिलो थिएन । आफ्नै गाउँठाउँबाट चुनाव जितेर गएका नरेशबहादुर शाही प्रदेश सरकारमा आर्थिक मामिलामन्त्री छन् । परिवारको हारगुहारपछि मन्त्री शाहीले कैलालीको सिमानाका गौरीफन्टादेखि बाजुरासम्मका लागि एम्बुलेन्स व्यवस्था गरिदिए । धेरै दौडधुपपछि खगेन्द्रको शव ल्याएर सद्गत गाउँमै सम्भव भयो ।
भारतमा सस्तो श्रम बेच्न बाध्य सबै परिवारको यस्तो पहुँच छैन । पसिना बगाउनका भारतका अनेकन सहर पुगेका नेपालीहरूको भवितव्य वा कालगतिले मृत्यु भइहाल्यो भने शव स्वदेश ल्याउन निकै गाह्रो छ । भारतका विभिन्न सहरदेखि सुदूरपश्चिमका पहाडसम्म पुर्‍याउनु शव वाहनकै खर्च एक लाख बढी पुग्छ । दिल्लीस्थित सुदूरपश्चिमेली नेपाली समाज महासचिव माधव भट्टका अनुसार भारतमा मृत्यु भएमा विरलै परिवारले मात्रै मृतकको शव नेपालमा आफ्नो गाउँठाउँ पुर्‍याउन सक्छन् । दिल्लीमै मात्र हरेक दिन सरदर चार जनाको नेपालीको मृत्यु हुने गरेको उनले सुनाए ।
सुदूरपश्चिमवासीको मुख्य श्रम गन्तव्य भारत भए पनि औपचारिक श्रम प्रणालीमा यो जोडिएको छैन । सरकारी अभिलेखमै नपर्दा अधिकारबाट श्रमिकहरू बेदखल मात्रै भएका छैनन्, मृत्युपछि शव ल्याउनै नसक्दा परिवारका प्रियजन सद्गत गर्ने अधिकारबाट समेत वञ्चित भइरहेका छन् । पुरानो श्रम गन्तव्य भए पनि नेपालीका लागि भारतका सहरमा बसाइ कष्टकर छ । यातायातको पहुँच सहज हुँदा सुदूरका पहाडबाट भारतका विभिन्न सहरमा सस्तो श्रममा जाने बाटो त छोट्टिएको छ तर नेपाली श्रमिकका दुःख भने घटनुको सट्टा झनै पेचिलो बन्दै गएको छ ।
सुदूरपश्चिमको मुख्य श्रम गन्तव्य खाडी र मलेसियाभन्दा पनि भारत नै भएको देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा देशभरबाट ६ लाख ३० हजार ९० जना तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा गएकामा सुदूरपश्चिमबाट जानेको संख्या १४ हजार १ सय १६ मात्र छ । त्यसमा पनि कैलालीका ४ हजार ४ सय २९ र कञ्चनपुरका ४ हजार ७ सय ३६ छन् भने अन्य सात पहाडी जिल्लाबाट ४ हजार ९ सय ५१ जना गएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालय धनगढीले पाँच वर्षअघि गरेको अध्ययनअनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न ठाउँमा ६ महिनाभन्दा बढी समयका लागि जानेको संख्या प्रत्येक वर्ष २ लाख ६ हजार छ । प्रतिवेदनअनुसार सुदूरपश्चिमबाट जीविकोपार्जन १७ देखि ४५ वर्ष उमेर समूहका युवाहरू रोजगारीका लागि भारत जाने गरेका छन् । भारत जानेमध्ये १९ प्रतिशत महिला र ८१ प्रतिशत पुरुष छन् ।
भारत जानेहरूमध्ये ६० प्रतिशतले स्वदेशमा काम नपाएर जाने गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ गएकामध्ये पनि १४ प्रतिशतको आम्दानी औसत हुने गरेको छ । १९ प्रतिशत गाउँमा खेतीपाती लगाएर ६ महिनाका लागि जाने गरेका छन् । तीन वर्षभन्दा बढी लगातार भारतमा बस्नेहरूको संख्या १४ प्रतिशत छ ।
सुदूरपश्चिमेलीहरू रोजगारीका लागि जाने भारतका गन्तव्य मुम्बई, नयाँदिल्ली, पन्जाब, हैदराबाद, सिमलालगायतका ठाउँ हुन् । गएकाहरूमध्ये ५५ प्रतिशतले मासिक १० देखि १५ हजार भारु बचत गर्ने गरेको प्रतिवेदनमा छ । १७ प्रतिशतले मासिक ३२ हजार भारु बचत गर्ने गरेका छन् । ९२ प्रतिशतले भारतमा कमाएको रकम घर खर्चमा उपयोग गर्ने गरेको बताएका छन् । २ प्रतिशतले ऋण तिर्न र ४ प्रतिशतले सम्पत्ति जोड्न खर्चिने गरेको मन्त्रालयको प्रतिवेदनमा छ ।

रोजीरोटीको दुःख सदाकाल
सुदूरपश्चिमका दुर्गम पहाडी भेगबाट श्रमिकहरूको लर्को भारततिर सुरु भएको त्यहाँ ब्रिटिसको शासनकालदेखि नै हो । २०२२ सालमा रोजगारीको खोजीमा दिल्ली पुग्दा बाजुरा कुल्देवमाडौंका नरेन्द्रबहादुर शाह २३ वर्षका थिए । ५५ वर्ष चौकीदारी गरे । दुई वर्षअघि घर फर्किएका ७८ वर्षीय शाह सय वर्ष अघिदेखि भारतमा श्रम गर्न जाने इतिहास भएको मान्छन् । वर्षौदेखि रोजीरोटीका लागि भारतमा पस्ने नेपालीको दुःख नघटेको अनुभव उनको छ । विसं. १९८० अघि बाजुराबाट ब्रह्मतोलाको बसालीका हंसबहादुर शाह रोजगारीका लागि दिल्ली जाने पहिलो भएको आफूले बूढापाकाबाट सुनेको उनले बताए । ‘हंसबहादुर देखाएको दिल्ली जाने बाटोमा उनी पछिका धेरै पुस्ता हिँडिसके,’ नरेन्द्रबहादुर भन्छन्, ‘अहिले भारतका सहरमा नपुग्ने सुदूरपश्चिमेली कमै होलान् । हरेक तेस्रो घरबाट एक जना रोजीरोटीका लागि पुगेका छन् ।’
हंसबहादुरका नाति खड्कबहादुर शाहले
सुरुमा बाजेले वर्ष दिनजति अंग्रेजकहाँ नोकरी गरेर फर्किएपछि पटक–पटक बाजे, काका सबै उतै श्रम गर्न पुगेको बताए ।
देशका अन्य प्रदेशबाट श्रम गर्न खाडी र मलेसियालगायत देशमा गए पनि सुदूरपश्चिमका हकमा भने श्रम गन्तव्य फेरिएको छैन । २७ वर्षदेखि दिल्लीमै चौकीदारी गर्दै आएका कुल्देवमाडौ झालीका ४५ वर्षीय गोरख लोहारले भने, ‘उतिबेला जानेहरू रहरले पनि गएका होला । तर, अहिले त बाध्यताले मात्रै भारतका गल्ली चहार्न पुग्छन् ।’
नरेन्द्रबहादुरको अनुभवमा भारतमा श्रम गर्न जान पहिलाभन्दा सजिलो भएको छ । तर, श्रमिकका दुःख, काम नपाउँदाको सास्ती, श्रम शोषण, मृत्यु भइहाल्यो भने कतैबाट पनि राहत, क्षतिपूर्ति नपाइने अवस्था र शव ल्याउनै हम्मेहम्मे हुने अवस्था उस्तै छ । २०२२ सालमा बाजुरा दक्षिणी भेगको ब्रह्मतोलाबाट दिल्ली पुग्न आफूलाई १२ दिन लागेको उनलाई अझै सम्झना छ । ‘अहिले त वर्षे भेलका जँघार तर्नु पर्दैन, धर्मशाला र ओडारहरूको आश्रय लिनु पर्दैन, सातुसामल बोकेर हिँड्नु पर्दैन,’ उनी भन्छन्, ‘ब्रह्मतोला वा मार्तडीबाट निस्केको तेस्रो बिहान सजिलै दिल्ली पुगिन्छ । बाटो छोट्टियो, दुःखचाहिँ घटेन ।’
कुल्देवमाडौं–७ का ८३ वर्षीय लालसिंह लोहारको अनुभव पनि नरेन्द्रकै जस्तो छ । २०२४ सालमा उनी कामको खोजीमा दिल्ली पुग्दा २७ वर्षका थिए । ‘ज्यानमा तागत भएको उमेर उतै बित्यो, घर फर्किएको १२ वर्ष भयो,’ उनले भने । फर्किएर आए पनि दिल्लीसँग परिवारको निर्भरता नघटेको उनी बताउँछन् । जेठो छोरा साइचे बाबुकै बाटो पछ्याउँदै ३५ वर्षदेखि र कान्छा गोरख २६ वर्षदेखि दिल्लीमा चौकीदारी गरिरहेका छन् ।
उतिबेला दिल्ली जाँदा पाएको दुःख लालसिंहलाई अझै पनि स्मृतिमा छ । घरबाट कुल भाकेर हिँडेको पहिलो दिन उनीसहितको टोली अछामको मार्कुसम्म पुगेर राति ओडारमा बास बसेको थियो । दोस्रो दिन बिहानैदेखि हिँडेर उनीहरू साँझ डोटीको सुर्मा पुगेका थिए । ‘अहिलेजस्ता होटल थिएनन्, खाने सामल बोकेर हिँडेका हुन्थ्यौं । तेस्रो दिन गड्डीगाड, सल्लेनीगाड, चौथो दिन दिपायल हुँदै कपल्लेकीसम्म पुग्थ्यौं,’ लालसिंहले भने, ‘पाँचौं दिन तेल्याको लेक, छैटौं दिन फल्टुडेको तल कोल्मुढा, सातौं दिन गड्डाचौकी, आठौं दिन टनकपुर हुँदै ११ दिनमा दिल्ली पुगिएको थियो ।’ उनका अनुसार भारतका सहर पुग्ने नेपालीलाई बाटोघाटाले सजिलो भए पनि दुःखअनुसार आर्जन बढेको छैन ।
०२२ सालमा नरेन्द्रबहादुरले दिल्लीमा मासिक १० रुपैयाँमा नोकरी गरेका थिए । खर्च जोगाएर घरमा नासो (लत्ताकपडा, खानेकुरा वा नगद रकम) पठाउने गर्थे । ‘त्यो बेला त १० रुपैयाँ पनि धेरै नै हुन्थ्यो । एक रुपैयाँको ८ किलो नुन आउँथ्यो । धेरैथोक किनमेल गर्न पुग्थ्यो ।’ ५५ वर्षपछि उनी मासिक १० हजार भारु तलब थाप्ने भएका थिए । बुढ्यौलीले छोप्न थालेपछि उनी गाउँ फर्किए । यतिबेला नरेन्द्रका तीन छोराको बाटो पनि बाबुको भन्दा फरक छैन । कान्छा छोरा हिक्मत गत साता मलेसिया उडे । अरू दुई छोरा तेज र रमेश बेलाबेला भारतमै काम गर्न आउजाउ गर्छन् ।

निम्नस्तरको रोजगारी, थोरै आम्दानी
रोजगारीका लागि भारत पस्ने नेपालीमध्ये अधिकांशले निकै थोरै पारिश्रमिकमा चित्त बुझाउनुपरेको छ । चौकीदारी, गाडी सरसफाइ, होटल पसल र भारी बोक्ने कामबाट नोकरीको स्तर माथि उठेको छैन । हन्डर र सास्तीका कथा थुप्रै छन् । कुल्देवमाडौ झालीका ४४ वर्षीय रनसिंह लोहारले दिल्लीको सदरबजारमा चौकीदारी गर्न थालेको २६ वर्ष भयो । २०५२ मा एसएलसी दिएपछि बाबुसँग दिल्ली हिँडेका उनी त्यसपछि दुई/चार वर्षमा एक पटक जरुरी काम पर्दाबाहेक घर फर्किएका छैनन् । दिल्ली पुगेपछि एउटा पसलमा दुई वर्ष काम गरे । पछि चौकीदारीको काम पाए । चौकीदारीबाट मासिक १० हजार भारु आउँदा गर्जो मुस्किलले चल्ने भएपछि उनी बिहान ४ घण्टा गाडी सफा गर्ने काम पनि गर्छन् । ‘सबै गरी जेनतेन महिनाको २५ हजार कमाइ हुन्छ,’ रनसिंहले भने, ‘दिल्लीमा काम गर्ने धेरैले बिहानको समय गाडी सफा गरेर अतिरिक्त कमाइ गर्छन् । नत्र त पुग्दै पुग्दैन ।’
यति धेरै मिहिनेत गर्दा पनि रनसिंहलाई बर्सेनि घर जाने आँट आउँदैन । खर्चको हिसाब सम्झेरै उनी खुम्चिन्छन् । कतिसम्म भने गत वर्ष आमा सिकिस्त रहेको खबर पाउँदा पनि उनी तत्कालै काम छाडेर घर दगुर्न सकेनन् । उनले भने, ‘कुन छोरालाई आमाको ज्युँदो मुख हेर्ने इच्छा नहुँदो हो र π आमाले प्राण त्याग्ने बेला पनि मुख हेर्न पाइँन ।’ रनसिंहका बाबु मैपतीले जीवनका ऊर्जाशील २० वर्ष दिल्लीमा चौकीदारी गरेर बिताएका थिए । १८ वर्षअघि ५५ वर्षको उमेरका घर फर्किएका उनको दुई वर्षअघि निधन भयो । रनसिंहलाई भारतमा दुःख उठाउनुको एउटै उद्देश्य छोरालाई राम्रो शिक्षा दिनु हो । काठमाडौंमा आईएस्सी पढ्दै गरेको छोरालाई मासिक २० हजार खर्च पठाउने गरेको बताउँदै उनले भने, ‘मैले त पढ्न नपाएर चौकीदारको जीवन बिताउनुपर्‍यो, छोराले कहिल्यै मेरो जस्तो दुःख गर्नु नपरोस् भन्ने इच्छा हो ।’
भारतमा सस्तो श्रम गर्न बाध्य अधिकांश नेपालीको सपनाको आयतन ठूलो छैन । घरखर्च चलाउने र सकेसम्म छोराछोरीलाई राम्रो पढाउने । बाजुराको माटेसाँघु जयबागेश्वरीका गणेशबहादुर शाही गाउँमा पुरुष भारत नगएको घरै नभएको बताउँछन् । अधिकांशले घरखर्च भारतकै कमाइले चलाएको उनले सुनाए । ‘फाट्टफुट्ट केहीले त तराईतिर पनि जग्गा जोडेको सुनिन्छ । तर धेरैजसो गएको गुजाराकै लागि हो,’ उनले भने ।
भारतमा काम गर्न जाने नेपालीहरूको परम्परामा विस्तारै बदलाव छ । त्यो हो, पहिले महिलाहरू जाने चलन थिएन । अहिले परिवार र बालबच्चासहित जाने बढेका छन् । पुरुषले पसलमा, चौकीदारीमा, गाडी सफा गरेर कमाइ गर्दा महिलाले सरसफाइ, कपडा धुने, बच्चाहरूको हेरचाह, खाना पकाउने घरेलु कामदारको रोजगारी पाउँछन् । त्यसैले हिजोआज धेरैजसोले परिवार नै हिँडेका सीमा भेटिन्छन् । दिल्लीको नाग्लैमा आठ वर्षअघिदेखि झालीका जयबहादुर कटुवाल चौकीदारी गर्छन् । उनले तीन वर्षअघि श्रीमतीलाई पनि साथै ल्याए । उनी राति चौकीदारी र बिहान गाडी सफा गर्ने काम गर्छन् भने श्रीमती साहुको घरमा खाना पकाएर मासिक ५ हजार कमाउँछिन् । दुवैको कमाइले उनीहरूले छोराछोरीलाई धनगढीमा डेरामा राखेर पढाइरहेका छन् । उनले भने ‘दुवैको कमाइले बालबच्चाको पढाइ, घरखर्च र आफ्नो गुजारा चलेको छ ।’ छोरी स्नातक तहमा पुगेकी छन् भने छोरा १० र ८ कक्षामा छन् । ‘हाम्रा बाले आफूजस्तै हामीलाई पनि नपढाएर हाम्रो जिन्दगी बिगारे नभनून् भनेर भारतका गल्लीमा चौकीदारी गरिरहेको छु,’ जयबहादुरले भने ।
भारतका सहरैपिच्छे सुदूरपश्चिमका फरक–फरक जिल्लाका बासिन्दा उल्लेख्य संख्यामा भेटिन्छन् । सुदूरपश्चिमेली नेपाली समाज भारतका अनुसार दिल्लीमा सबैभन्दा धेरै संख्या बाजुराका छन् भने मुम्बईमा अछामका धेरै छन् । बझाङका धेरैजसो भने बैंग्लोरमा छन् । बाजुराका जयबहादुर कटुवालले सुनाए ‘दिल्लीको जुनसुकै कुनामा पनि बाजुरेली नभेटिने ठाउँ छैन ।’
समाजका महासचिव दार्चुलाको शैल्यशिखर–४ का ४० वर्षीय माधव भट्ट २४ वर्षदेखि दिल्लीमा छन् । भारतका विभिन्न सहरमा रोजगारीमा जानेहरूको अभिलेख, बिमा, सुरक्षा, उद्धारको व्यवस्था सरकारले गरिदिए पनि धेरै सजिलो हुने उनी बताउँछन् । समाजमा हाल करिब ६ हजार सुदूरपश्चिमेली आबद्ध रहेको बताउँदै उनले भने, ‘दिल्लीमै लाखभन्दा बढी छन् सुदूरपश्चिमेली । सबैलाई समाजमा आबद्ध गर्न सकिएको छैन ।’
भारतमा श्रम गर्नेहरूका समस्याबारे प्रदेश र स्थानीय सरकारले चासो लिनुपर्ने उनको मत छ । ‘तेस्रो देश जाने नेपाली श्रमिक सरकारी बिमादेखि कानुनी उपचार र मृत्यु भएमा शव ल्याउनेसम्मको दायित्व नेपाल सरकारले लिन्छ, भारतमा काम गर्नेको हकमा पनि त गर्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले त तीन तहका सरकार छन् । तर, हाम्रा सरकारले अभिभावकत्व लिनु त परै जावस्, वास्तै छैन ।’

सीमामा सास्ती
भारतमा काम गर्ने श्रमिकका दुःख श्रम गन्तव्यमा मात्रै सीमित छैन । वर्षौंको मजदुरी गरेर फर्केकाहरूले सीमामा पाउने दुःखको पनि बेग्लै फेहरिस्त छ । बाटोमा हुने लुटपाट र ठगीदेखि भारतीय सीमा प्रहरीले दिने सास्तीका कथा प्रत्येक दिन सीमा क्षेत्रमा सुनिन्छ । नयाँ वर्षमा मनाइने सुदूरपश्चिमको चाड बिशुका लागि घर फर्किरहेका सुर्खेतको भेरीगंगा–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली गत सोमबार भारतको हल्द्वानीबाट फर्किंदै गर्दा भारतीय भूमिमै लुटिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूको ४५ हजार भारु नगद र चार थान मोबाइल लुटपाटको घटना भएको छ ।
कालापहाडमा मजदुरी गरेर घर फर्किन लागेका उनीहरूलाई उत्तराखण्डको हल्द्वानीमा बेहोस बनाएर लुटिएको थियो । सीमा क्षेत्रमा बेहोस भेटिएका उनीहरूलाई प्रहरीले उद्धार गरेर महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार गराएको थियो । तर, लुटिएको पैसा र सामान फिर्ता पाउने आधार भेटिएन ।
यस्तै गत साता कञ्चनपुर गड्डाचौकीको बाटो घर फर्किरहका नेपाली श्रमिकहरूबाट भारतीय सुरक्षाकर्मर्लीे १३ लाखभन्दा बढी भारु रकम बरामद गरे । त्यति धेरै नगद बोक्न नपाइने भन्दै रकम जफत गरियो ।
कञ्चनपुर प्रहरीका अनुसार चैत २४ मा हरियाणाबाट घर फर्किरहेका बझाङ दुर्गाथलीका धर्मराज मुरबाट एसएसबीले २ लाख १३ हजार भारु खोसेर भारतीय अध्यागमनलाई बुझाइदियो । हरियाणामा लामो समयदेखि चलाइरहेको ढावा बेचेर उनी घर फर्किरहेका थिए । नेपाली श्रमिकलाई सबैभन्दा ठूलो मर्का भारतमा बैंकिङ कारोबार गर्न खाता खोल्न नपाउनु त छँदै छ, नेपालतर्फ २५ हजारभन्दा बढी भारु नगदमा ल्याउन पाउँदैनन् । ज्याला मजदुरी गरेर घर फर्किनेका साथमा हुने रकम स्रोत नखुलेको भन्दै एसएसबीले सीमामा खोस्ने गरेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीमा ५ वर्षअघि त्रिलोचन भट्टले पदवहाली गर्दा धेरैलाई लागेको थियो, अब भारतमा काम गर्ने नेपालीका दुःख घट्छन् । यस्तो लाग्नुका पछाडि भट्टको विगत भारतमा चौकीदारी गर्दाको दुःख समेटिएको थियो । भट्टले भनेका थिए, ‘अब सुदूरपश्चिमेलीहरूले भारतमा चौकीदारी गर्न जानुपर्ने छैन ।’ पाँच वर्षे कार्यकाल सकेर उनी पदबाट हटे, श्रमका लागि भारत आउजाउ गर्ने प्रदेशवासीको सास्ती कम भएको
छैन । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा हरेक दिन भारत आउजाउ गरिरहेका नेपालीका दुःखका सुस्केरा उस्तै सुनिन्छ ।

 

Page 3
समाचार

केन्द्रीय नेतृत्वको आदेश कुर्दै प्रदेशका मुख्यमन्त्री

- कलेन्द्र सेजुवाल

(काठमाडौं)
प्रदेश सरकारबाट प्रमुख प्रतिपक्षी एमाले बाहिरिएर मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुले पनि सत्ता गठबन्धनले सरकार विस्तार गर्न सकेको छैन । प्रदेशसभामा रहेका दलहरूले केन्द्रबाट निर्देशन नआउँदा सरकार विस्तारमा ढिलाइ भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । माघ २६ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि शाह सोही दिन मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसको भोलिपल्ट उनले कांग्रेसबाट प्रकाश देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र एकीकृत समाजवादीबाट नरेश शाहीलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरे । फागुन २१ मा कांग्रेस र एकीकृत समाजवादीका साथै माओवादी र नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिएपछि सुदूरपश्चिममा चार दल सत्ताधारी बने ।
मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मुख्यमन्त्री शाहले माओवादी र नागरिक उन्मुक्तिलाई सरकारमा भित्र्याउन भने सकेका छैनन् । सुदूरपश्चिममा माओवादीले आलोपालो मुख्यमन्त्रीसहित अहिले ३ मन्त्री र नागरिक उन्मुक्तिले दुई मन्त्रीसहित १ राज्यमन्त्री दाबी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय रहेको सुदूरपश्चिममा सत्ता साझेदार चार दललाई भाग पुर्‍याउन मुख्यमन्त्री शाहलाई निकै सकस परेको छ । माओवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिमको शक्ति बाँडफाँटबारे केन्द्रमा कुराकानी भइरहेको र निर्णय हुन बाँकी रहेको बताए । ‘मन्त्रिपरिषद् विस्तारमा निकै ढिलाइ भएको छ, अहिले हामी काठमाडौंमा यसकै छलफलमा छौं,’ उनले भने, ‘केन्द्रीय तहबाट कुरा टुंगिनेबित्तिकै सुदूरपश्चिम सरकारमा माओवादी प्रवेश गर्छ ।’
कर्णाली प्रदेशमा गत आइतबार एमाले सरकारबाट बाहिरिएर मन्त्रिपरिषद् पुनर्गठनको बाटो खोले पनि गठबन्धन दलबीच कुरा मिलेको छैन । कर्णालीमा कांग्रेसले सभामुखसहित मुख्यमन्त्री आलोपालो र हालको सरकारमा चार मन्त्रालय दाबी गरेको छ । कर्णालीमा एमालेकी नन्दा गुरुङ सभामुख छिन् । ४० सदस्यीय प्रदेशसभामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दुई तिहाइ सांसद (२८) रहेकाले सभामुखसमेत परिवर्तन गर्ने सत्ता गठबन्धनको तयारी छ । पहिलो चरणमा भने सरकारलाई पूर्णता दिने तयारी भइरहेको कांग्रेसका एक सांसदले बताए । ‘सभामुख परिवर्तन गर्न कुनै बाधा, समस्या छैन तर पहिले हामीले सरकारमा सन्तुलित साझेदारीको प्रयास गरिरहेका छौं,’ ती सांसदले भने ।
माओवादीकी प्रदेश अध्यक्ष विमला केसीले कांग्रेसले चाहेकै दिन सरकार विस्तार हुने बताइन् । प्रदेशस्तरमा पनि सरकारमा सहभागिताका लागि छलफल भइरहेको र केन्द्रसँग आवश्यक समन्वय गरेर सरकार विस्तार गर्ने उनको भनाइ छ । कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय छन् । माओवादीले कांग्रेसलाई एमालेको जिम्मेवारीमा रहेका तीन मन्त्रालय दिन खोजेको छ । अहिले माओवादीबाट मुख्यमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसले ४ मन्त्री मागेको अवस्थामा मुख्यमन्त्री राजकुमार शर्मासामु ३ मन्त्री र १ राज्यमन्त्री दिने अथवा भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाभिएको ऊर्जा तथा जलस्रोत मन्त्रालय छुट्याउने गरी दुई विकल्प छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले केन्द्रबाट भागबन्डासम्बन्धी निर्देशन नआएकाले सरकारमा सहभागी हुन नसकेको बताए । ‘सत्ता गठबन्धनले केन्द्रबाट शक्ति बाँडफाँटको निर्णय गरेर पठाएपछि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे प्रदेशमा छलफल हुन्छ, अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन,’ उनले भने । कर्णालीमा एकमात्र सिट रहेको एकीकृत समाजवादीले पनि मन्त्री मागेको छ ।
जसपा नेतृत्वको मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको साता बिते पनि सत्ता गठबन्धनका तीन दल कांग्रेस, एकीकृत समाजवादी र लोसपा सरकारमा गएका छैनन् । मधेशमा माओवादी र जनमत पार्टी सुरुदेखि नै सरकारमा छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले पुस १० मा एमालेको अगुवाइमा बनेको सातदलीय गठबन्धन भत्केर नयाँ गठबन्धन बनेकाले सरकारको पुनःसंरचना पनि सोहीअनुसार हुनुपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले गठबन्धनको सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री दाबी गरे पनि केन्द्रको निर्देशन पर्खिरहेको बताए । ‘पुरानो गठबन्धन भत्केकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ भन्ने हाम्रो स्वाभाविक दाबी छ, तर केन्द्रबाट आउने निर्णयलाई अस्वीकार गर्न सक्दैनौं,’ उनले भने, ‘यही सरकारमा सहभागी हुने कि नयाँ सरकार बनाउने भन्ने निर्णय केन्द्रीय गठबन्धनको हातमा छ ।’
जसपाका केन्द्रीय प्रवक्ता एवं मधेश प्रदेशसभा सदस्य मनीष सुमनले सहयात्री दलहरूलाई वर्तमान सरकारमा सहभागी गराउनका लागि छलफल भइरहेको बताए । उपनिर्वाचनका कारण व्यस्त हुनुपरेकाले केही ढिलाइ भएको उनको भनाइ छ । ‘तीन महिनामै सरकार फेरेर अस्थिरता निम्त्याउनु हुँदैन भन्नेमा सबै सत्ताधारी दल सचेत छन्, त्यसैले केही दिनमा नै सरकार पुनर्गठन हुन्छ,’ उनले भने ।
मुख्यमन्त्री सरोजकुमार यादवका लागि भागबन्डा मिलाउन पनि चुनौती उत्तिकै छ । प्रदेशसभामा २२ सिट रहेको कांग्रेसले पहिलो कार्यकाल मुख्यमन्त्री नपाएको अवस्थामा तीन मन्त्रालय दाबी गरेको छ । लोसपा र एकीकृत समाजवादीले पनि एक–एक मन्त्रालय मागेका छन् । एमाले बाहिरिएपछि अहिले मुख्यमन्त्रीसँग चार मन्त्रालय छन् । अर्थ, सामाजिक विकास र खानेपानी तथा ऊर्जा मन्त्रालय जसपा आफैंले राखेको छ । भूमि व्यवस्था तथा कृषि मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय जनमतसँग र उद्योग, पर्यटन तथा वन मन्त्रालय माओवादीसँग छ ।
वाग्मती प्रदेशमा एमाले सरकारबाट बाहिरिएको १५ दिनपछि शनिबार कांग्रेस दुई मन्त्रीसहित सरकारमा सहभागी भएको छ । संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ११ मन्त्रालय रहेको वाग्मतीमा माओवादीबाट मुख्यमन्त्री र तीन मन्त्री छन् । अब कांग्रेस र एकीकृत समाजवादीका लागि ५ मन्त्रालय बाँकी छन् । कांग्रेसले थप ४ मन्त्रालय र एकीकृत समाजवादीले २ मन्त्रालय मागेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई दललाई बाँकी मन्त्रालय दिएर वैशाख ३ सम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको बताए । ‘बुधबारको छलफलबाट लगभग कुरा मिलेको छ, बाँकी पाँचवटा मन्त्रालयमा दुई दलबीच सहमति हुन्छ,’ उनले भने ।
एमाले नेतृत्वमा रहेका गण्डकी र लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलले विश्वासको मत लिने अवधि पर्खिरहेका छन् । गण्डकी प्रदेशमा चैत १० मा र लुम्बिनी प्रदेशमा चैत १२ मा माओवादीलगायत दल सरकारबाट बाहिरिएका थिए । संविधानअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लीला गिरी मुख्यमन्त्री छन् । दुइटै प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले यी प्रदेशमा सत्ता गठबन्धनभित्र सरकारको नेतृत्वका लागिसमेत होड चलिरहेको छ ।
गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित जस्तै भए पनि लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी र माओवादीका जोखबहादुर महराबीच रस्साकसी छ । कोशी प्रदेशमा भने संसद्मा केन्द्रीयस्तरमा बनेको सत्ता गठबन्धन र एमाले–राप्रपाको बराबर ४६–४६ मत भएकाले गठबन्धनले सरकार परिवर्तनको कदम चाल्न सकेको छैन । माओवादीका सभामुख भए पनि नयाँ
सरकार निर्माणका लागि उनले हस्ताक्षर गर्न नपाउने हुँदा संसद्को ठूलो दलको हैसियतले एमालेका हिक्मतकुमार कार्कीले पुनः मुख्यमन्त्रीमा निरन्तरता पाउने सम्भावना छ । त्यसैले कार्की नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको छैन । हाल काठमाडौंमा रहेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशको आगामी सरकार निर्माणबारे केन्द्रीय नेताहरूसँग छलफल भइरहेको बताए । सत्ता गठबन्धनले राप्रपालाई आफ्नो पक्षमा ल्याएर मात्र सरकारबाट बाहिरिने रणनीति बनाएको छ तर राप्रपा त्यसमा सहमत छैन ।

Page 4
वाग्मती प्रदेश

रामपुरमा परीक्षा अवरुद्ध

- रमेशकुमार पौडेल

(चितवन)
पूर्वी चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणामा असहमति जनाउँदै गरेको तालाबन्दी खुलेको छैन । तालाबन्दी नखुल्दा चैत २६ गतेबाट सुरु त्रिविको बीएससी एजी पाँचौं सेमेस्टरको परीक्षासमेत हुन सकेको छैन । रामपुर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक क्याम्पस हो ।
त्रिविअन्तर्गतका क्याम्पसमा चैत ५ मा स्ववियु निर्वाचन हुने कार्यतालिका थियो । कार्यतालिकाभित्र चितवनका दुई क्याम्पसमा मात्रै निर्वाचन भए । अन्य क्याम्पसमध्ये रामपुरमा चैत १७ गते निर्वाचन भएर परिणाम घोषणा भए पनि नेविसंघले अस्वीकार गर्दै आएको छ । चैत २० मा नेविसंघले क्याम्पसमा ताला लगाएपछि परीक्षासमेत हुन नसकेको हो ।
उम्मेदवारी मनोनयनलगायत निर्वाचनसम्बन्धी सबै प्रक्रिया पूरा भएको अवस्थामा मतदानको अघिल्लो दिन नेविसंघले चैत ४ मा तालाबन्दी गरेपछि निर्धारित मितिमा चुनाव हुन सकेको थिएन । चैत ८ मा सबै राजनीतिक दलका क्षेत्रीय र नगर समितिका पदाधिकारी, विद्यार्थी संगठनका नेता र क्याम्पस प्रशासन तथा निर्वाचन समितिको सर्वपक्षीय बैठक बसेर स्थगित मतदान चैत १७ मा गर्ने निर्णय भएको थियो । ‘बीएससी एजी पाँचौं सेमेस्टरको बोर्ड परीक्षा चैत १२ गतेदेखि थियो । चैत १७ मा रामपुरमा निर्वाचन हुने भएपछि परीक्षाको समय चैत २६ देखि वैशाख १२ सम्म सार्‍यौं,’ क्याम्पस प्रमुख मिलन सुवेदीले भने, ‘अहिले अन्य क्याम्पसमा परीक्षा सुरु भए पनि रामपुरमा भने हुन सकेको छैन ।’ वैशाख ८ देखि २१ गतेसम्म बीएससी एजी सातौं सेमेस्टरको परीक्षा छ । स्ववियु निर्वाचनको विषय समाधान नभईकन तालाबन्दी नखुल्ने अडानमा नेविसंघ रहेका कारण उक्त परीक्षा सञ्चालन पनि अन्योलमा छ ।
चैत १७ को मतदान हुन दुई दिनअघि नेविसंघले निर्वाचन प्रक्रिया र निर्वाचन समितिप्रति असहमति जनाउँदै तालाबन्दी गरेको थियो । तालाबन्दीबीच चैत १७ मा दिउँसो मतदान भएको थियो । मतदान प्रक्रियाको विरोध गर्दा प्रहरी प्रवेश गरेर नेविसंघ इकाई सभापति तथा स्ववियु सभापति पदका उम्मेदवार आशिष जैसी देवकोटालाई हतकडी लगाई कुटपिट
समेत गरिएको थियो । घाइते उनी चितवन मेडिकल कलेजको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार गराएर चैत २७ मा डिस्चार्ज भएका छन् । सोही दिन सुरज यादव पनि घाइते भएका थिए ।
चैत २० मा तालाबन्दी गर्ने क्रममा आक्रमणमा परी विद्यार्थी विवेक अर्याल घाइते भएका थिए ।
चैत १७ को निर्वाचनमा वामपन्थी विद्यार्थीको संयुक्त प्यानल अखिल संयुक्तका उम्मेदवार विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । २४१ मतदाता रहेको क्याम्पसमा १२० मत खसेको थियो । नेविसंघले आफ्नो उपस्थितिबिना सीमित व्यक्तिको मिलेमतोमा एकलौटी र धाँधलीपूर्ण निर्वाचन गराएको आरोप लगाउँदै निर्वाचन र मतपरिणाम घोषणा खारेजीको माग गरेको छ । क्याम्पस प्रमुख, निर्वाचन समिति संयोजक र विद्यार्थीलाई नियन्त्रणमा लिई कुटपिट गरेकामा सुरक्षा प्रमुखलाई बर्खास्त गर्न पनि उनको माग छ ।

 

वाग्मती प्रदेश

गढी भित्रिए पर्यटक

- कान्तिपुर संवाददाता


सिन्धुली (कास)– बीपी राजमार्गको नागबेली सडक हुँदै सोलाभन्ज्याङ पुगिन्छ । सोलाभन्ज्याङबाट गढी क्षेत्र पुग्न सवारीसाधनमा बढीमा १० मिनेट लाग्छ । तर नयाँ वर्षको दिन शुक्रबार यो सडक पार गर्न आधा घण्टाभन्दा बढी लाग्यो । कारण थियो सिन्धुलीगढीमा नयाँ वर्ष मनाउनेको लर्को । नयाँ वर्ष मनाउने बस, निजी सवारीमा गढी आइपुगेका थिए ।
सवारीसाधनमा गढी क्षेत्र प्रवेश गरेपछि आन्तरिक पर्यटकले नेपालकै पहिलो युद्ध संग्रहालय, त्यसको परिसरमा योद्धाको सालिक, ढुंगे सडक, ढुंगे इनार, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकलगायत प्रतिमाको अवलोकन गरे । नयाँ वर्षका लागि सिन्धुलीगढीलाई बेहुलीझैं सिंगारिएको अन्वेषणकर्ता सागरकुमार ढकालले बताए । ३ हजारभन्दा बढीले सिन्धुलीगढीको अवलोकन गरेको उनको अनुमान छ । ‘युद्धमा प्रयोग भएका सबै सामग्री जुटाएर युद्ध संग्रहालयमा राखिएको रहेछ, जानकारी र आनन्द दुवै लिएँ,’ जनकपुरबाट आएका रामआशिष शाहले आफ्नो अनुभव सुनाए । यति धेरै आन्तरिक पर्यटक ओइरिएको यो पहिलो पटक भएको स्थानीय कर्णबहादुर कार्की बताउँछन् । ‘गढी क्षेत्रलाई घेराबेरा गरेर पर्यटकीय स्थल बनाउन सके बाह्य पर्यटक पनि भित्रिन्छन्,’ उनले भने, ‘खाल्डाखुल्डीरहित सडक र गढी क्षेत्रमै रिसोर्ट खुल्नु त्यसका लागि अपरिहार्य छ ।’
तत्कालीन युद्धको झझल्को दिने र वीर गोर्खालीले लडाइँमा विजय प्राप्त गरेको दृश्यलाई अवलोकनकर्ताले दृश्य सामग्रीमार्फत संग्रहालयको हलमा निःशुल्क हेरेर आनन्द उठाएका छन् ।
तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको २४ सय अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहका गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिंगालको गोलाको मद्दत लिएर १८२४ असोज १५ गते युद्धमा पराजित गरी धपाएका थिए ।

 

Page 5
अर्थ वाणिज्य

९ अर्ब ८४ करोड खर्चिंदा पनि २९ सभाहल निर्माण अधुरै

- विमल खतिवडा

(काठमाडौं)
सघन सहरी तथा भवन निर्माण विभागले निर्माण थालेका सभाहल अझै पूरा हुन सकेका छैनन् । ७ प्रदेशमा ४३ सभाहल निर्माण गर्ने विभागको योजना रहेकामा अहिलेसम्म ११ वटा मात्र बनेका छन् । बनिसकेका सभाहलमा पनि समस्या देखिन थालेको छ । १८ वटा सभाहल निर्माणाधीन छन् भने १४ वटा जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन तयारीलगायत प्रारम्भिक चरणका काममै अल्झिएको बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख छ ।
४३ सभाहलमध्ये २९ को निर्माणका लागि १८ अर्ब १६ करोड १० लाख रुपैयाँ लागत अनुमान थियो । तर आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तसम्म ९ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ खर्च भए पनि काम सकिएको छैन । काम सकिएर सञ्चालनमा आएका कतिपय सभाहलमा पानी चुहिन थालेको बताइएको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र त्यसैको एउटा उदाहरण हो । उद्घाटन भएको एक वर्ष नपुग्दै सभाहल चुहिन थालेको छ । गएको चैत १७ मा वर्षा भएपछि ध्यान केन्द्रको छतका विभिन्न ठाउँबाट पानी चुहिएको थियो ।
०७५ वैशाख १७ मा बुद्ध पूर्णिमाका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको सभाहल गत जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । पहिलो चरणको काम अनक अर्घाखाँची, बाबुल जेभीले २८ करोड १३ लाख रुपैयाँ र दोस्रो चरणको काम लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले ३४ करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएका थिए । ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहलमा पनि निर्माण भएर सञ्चालन आएको महिना नबित्दै पानी चुहिने समस्या देखिएको थियो ।
०७८ वैशाख ३१ मा हतारहतार उद्घाटन गरिएको सम्मेलन केन्द्रमा सोही जेठमा पानी चुहिएको थियो । सहरी विकास मन्त्रालयले समिति बनाएर पानी चुहिएकोबारे छानबिन गरेको थियो । पछि सुधार गर्ने सहमति भए पनि थप प्रक्रिया अघि बढाइएन । उक्त सभाहल निर्माणमा ८० करोड २७ लाख रुपैयाँ खर्च भयो । यसको ठेक्का केसी–समानान्तर जेभीले लिएका थिए । सभाहल निर्माण गर्न १४३ रोपनी १ आना ३ पैसा जग्गा उपलब्ध गराउने निर्णय भएकामा ४३ रोपनीमा मात्र निर्माण गरिएको हो । बाँकी जग्गा अतिक्रमण भई घर टहरा निर्माण गरिएकाले सार्वजनिक जग्गा संरक्षण गर्न उचित प्रबन्ध गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
चितवनको रत्ननगर, सौराहा र भरतपुरमा क्रमशः ६ सय, १ हजार र २ हजार सिट क्षमताका ३ वटा सभाहल निर्माणका लागि १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । रत्ननगरमा ०७३ कात्तिक २५ मा सम्झौता भई कार्यारम्भ भएको सभाहल ०७६ कात्तिक २२ मा निर्माण सकिनुपर्ने हो । सुरु म्यादको शतप्रतिशत थप हुँदासमेत आर्थिक वर्ष ०७८/७९ मा ८० प्रतिशत मात्र भौतिक प्रगति छ । धेरै काम अझै अधुरै रहेको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।
सौराहा सभाहलको ६५ प्रतिशत र भरतपुर सिटीहलको ४० प्रतिशत मात्र भौतिक प्रगति छ । चितवनमा उद्योग संघको परिसर, नारायणी कला मन्दिर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा समेत सभाहल विगतदेखि सञ्चालनमा छन् । ‘२० किलोमिटरको दूरीभित्र नै तीन नयाँ सभाहल निर्माणमा अर्बौं खर्च गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।
कैलालीको धनगढीमा ९८० सिट क्षमताको सभाहल निर्माणका लागि २८ करोड ५५ लाख रुपैयाँ ठेक्का गरिएको हो । ०७५ माघ २ मा ठेक्का सम्झौता भएअनुसार ०७८ असार ९ मा सम्पन्न गर्नुपर्ने थियो । सम्झौता अवधिभित्र निर्माण नसकिएपछि ०७९ असार २९ सम्म म्याद थपिएको थियो । सभाहल निर्माण सकिएर कार्यालयले कार्य स्विकारे पनि संरचनाको स्वामित्व र सञ्चालन मोडालिटीमा स्पष्टता नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रायः सभाहल हचुवामा बनाइएको छ । राजनीतिक दबाबका कारण आवश्यक नभएको ठाउँमा पनि सभाहल निर्माण गरिएको सहरी विकास मन्त्रालय स्रोतको भनाइ छ । ‘कति ठाउँमा त सभाहल आवश्यक नै छैन, तर पनि कसैको दबाबमा परेर निर्माण गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैले धेरै सभाहल आवश्यकताभन्दा पनि राजनीतिक पहुँचका भरमा बनाइएका छन् ।’
यता झापाको दमकमा १ हजार ८ सय सिट क्षमताको सभाहल ३६ महिनाभित्र निर्माण सक्ने गरी ०७४ असार २० मा ठेक्का सम्झौता भएको थियो । यसको ठेक्का रकम २८ करोड ४० लाख रुपैयाँ छ । यसको म्याद चौथो पटक थपेर ०७९ भदौसम्म पुर्‍याइयो । लागत बढाएर ३२ करोड ११ लाख रुपैयाँ पुर्‍याइएको छ । ‘तर सभाहल निर्माणको अन्तिम चरणमा पुग्दासमेत आन्तरिक सजावट, फर्निचर र साउन्ड सिस्टमलगायतको काम र पार्किङका लागि जग्गाको सुनिश्चितता गरिएको देखिएन,’ प्रतिवेदनले भनेको छ ।

 

अर्थ वाणिज्य

निजीको भन्दा प्राधिकरणको आयोजना निर्माण खर्च दोब्बरभन्दा बढी

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– निजी क्षेत्रले बनाएका विद्युत् आयोजनाको तुलनामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका आयोजनाहरूको लागत दोब्बरभन्दा बढी हुने गरेको पाइएको छ । निजी क्षेत्रले निर्माण गरेका आयोजनाको औसत लागत प्रतिमेगावाट १६ करोड २२ लाख छ । तर प्राधिकरणले बनाएका आयोजनाको औसत प्रतिमेगावाट खर्च ३६ करोड ४६ लाख रहेको बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ । एकै समयमा बनेका आयोजनाको लागत दोब्बरभन्दा बढी हुनुलाई महालेखाले अस्वाभाविकसमेत भनेको छ ।
निजी क्षेत्रको जलविद्युत् आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्रीखोला जलविद्युत् आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ४३ लाख, माईखोला जलविद्युत् कम्पनीले निर्माण गरेको ३.८ मेगावाट क्षमताको सुपर माई क्यास्केडको प्रतिमेगावाट लागत १४ करोड ६८ लाख, ७.८ मेगावाट क्षमताको सुपरमाई दोस्रो १९ करोड ८ लाख र ६.६ मेगावाट क्षमताको विन्ध्यवासिनी हाइड्रोको १७ करोड ७० लाख रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
तर यिनै आयोजना निर्माणका बेला प्राधिकरणले बनाएका आयोजनाको उत्पादन लागत दोब्बरभन्दा बढी छ । प्राधिकरणको आयोजना अपर त्रिशूली हाइड्रोको प्रतिमेगावाट लागत २८ करोड ५ लाख, कुलेखानी तेस्रोको ३२ करोड ३५ लाख र चमेलियाको ४९ करोड लागत परेको महालेखाको प्रतिवेदनमा जनाइएको छ । निजी तथा साझेदारीमा सञ्चालित आयोजनाको तुलनामा प्राधिकरणले आयोजनाका रूपमा निर्माण गर्दा लागत अस्वाभाविक बढेको अवस्थालाई विश्लेषण गर्दा आयोजना महँगो परेको प्रतिवेदनमा औंल्याइएको छ ।
धेरैजसो जलविद्युत् आयोजना नदी प्रवाही (रन अफ रिभर) का आधारमा निर्माण भएको अवस्थामा विद्युत् खपत र बजारीकरणको मार्गचित्रसहितको योजना प्राधिकरणले निर्माण नगरेको पनि प्रतिवेदनमा उल्लेख छ । यस्ता आयोजना निश्चित अवधिपछि प्राधिकरणको स्वामित्वमा आउने हुँदा ती संरचनाको गुणस्तर र परिचालन अवस्थाबारे कार्ययोजना बनाएर अनुगमन गर्ने, अनुगमनबाट प्राप्त निष्कर्षलाई प्रकाशन गर्ने कार्यसमेत नगरेको प्रतिवेदनले जनाएको छ ।
नेपाल र भारत सरकारबीच भएको महाकाली सन्धिअनुसार नेपाल सरकारले अंग्रेजी क्यालेन्डरअनुसार भारतले प्रत्येक वर्ष ७ करोड युनिट विद्युत् निःशुल्क पाउने उल्लेख छ । तर उक्त प्रावधानअनुसार निःशुल्क प्राप्त गरेको बिजुली नेपाल सरकारले प्रतियुनिट ४.७५ का दरले प्राप्त गर्ने गरी प्राधिकरणलाई उपलब्ध गराए पनि यसबापत तिर्नुपर्ने २ अर्ब ९ करोड रुपैयाँ प्राधिकरणले भुक्तानी नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदनमा विद्युत् महसुल बक्यौता गत वर्षको तुलनामा १०.१५ प्रतिशतले वृद्धि भई ४० अर्ब १२ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६७ ग्राहकबाट असुल हुनुपर्ने १९ अर्ब ९५ करोड रुपैयाँ कुल बक्यौताको ४९.७२ प्रतिशत देखिन्छ । यसबाहेक सडक बत्तीको मात्र ५ अर्ब १८ करोड उठाउन बाँकी रहेको महालेखाको प्रतिवेदनले जनाएको छ ।

अर्थ वाणिज्य

जयनगर–कुर्था रेलको समय हेरफेर

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– जयनगर–जनकपुरमा सञ्चालनमा आएको एक वर्षपछि रेल चल्ने समय तालिका हेरफेर गरिएको छ । यसअघि भारतको जयनगरबाट बिहान नेपालको कुर्थासम्मका लागि रेल छुट्ने गरेको थियो । अब नेपालबाट भारतका लागि बिहान रेल छुट्नेछ ।
नेपालबाट रोजगारी, सामान खरिदलगायत कामका लागि भारत जाने यात्रुको मागलाई दृष्टिगत गरी नयाँ वर्षमा रेल सञ्चालनको समय तालिका हेरफेर गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनाए । ‘रेल सञ्चालनमा आएदेखि नै यात्रुहरूको गुनासो पहिलो रेल कुर्था–जनकपुरबाट जयनगर जाने बनाउनुपर्छ भन्ने थियो,’ उनले भने, ‘त्यही मागलाई नयाँ वर्षमा सम्बोधन गरेका हौं ।’ गत ०७८ चैत १९ बाट रेल सञ्चालनमा आएको हो ।
एउटा रेल सेटमा १ हजार यात्रु अटाउँछन्, तर यो पनि पर्याप्त नभएको महाप्रबन्धक झाको भनाइ छ ।

अर्थ वाणिज्य

पर्यटक बढ्न थालेपछि पोखरामा अन्तर्राष्ट्रिय उडानको माग

- दीपक परियार

(पोखरा)
गत अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नयाँ वर्ष आइपुग्दासमेत बाह्य उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराको पर्यटनमा भएको लगानी नै जोखिममा परेको चिन्ता व्यवसायीले व्यक्त गरेका छन् । पर्यटक बढ्न थालेका बेला अन्तर्राष्ट्रिय उडान भइदिए त्यसले थप सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ ।
पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा केही दिनअघि काठमाडौं पुगेर टोलीले आफ्ना माग प्रस्तुत गरेको हो । भेटमा प्रधानमन्त्री दाहालले भारत र चीनको औपचारिक भ्रमणका क्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकतामा राखेर विषय उठान गर्ने आश्वासन दिएका थिए ।
परिषद्का महासचिव सञ्जयकान्त सिग्देलका अनुसार प्रधानमन्त्री दाहालले भारतसँग पोखरा आउने एयर रुट (हवाई प्रवेश मार्ग) का लागि कुरा राख्ने बताएका थिए । ‘आफैंले उद्घाटन गरेको विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान छिटो गर्नेमा उहाँ सकारात्मक हुनुहुन्छ,’ सिग्देलले भने, ‘छिट्टै निकास निस्कनेमा आशावादी छौं ।’ गत पुस १७ मा प्रधानमन्त्री दाहालले विमानस्थल उद्घाटन गरेका थिए ।
होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडमा आयोजित १८ औं फेवा नव वर्ष महोत्सवको उद्घाटनमा व्यवसायीले अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने माग गरे । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताए । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्चालन गरिनुपर्ने माग राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर लगानी गरेका व्यवसायी जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाए । ‘व्यवसायीले त्यो अवस्थामा लगानी थपे तर कोरोना महामारी र आर्थिक मन्दीले अपेक्षाअनुसार पर्यटक आएनन्,’ उनले भने, ‘अब पुनर्कर्जा, भुक्तानी तालिकाको पुनर्तालिकीकरणको व्यवस्था नगरे, ब्याजदर एक अंकमा नघटाए व्यवसायी सडकमा आउने स्थिति छ ।’ यस्तो अवस्थामा पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भए मात्रै पनि राहत मिल्ने उनको भनाइ थियो ।
पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषय सरकारसँग गम्भीर रूपमा राखिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले जनाए । पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको र संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने उनको धारणा छ । यो घोषणासँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोल्ने विषय जोडिएको उनले सुनाए ।
तीनदिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा थिए । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भयो । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिडलगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको उनले सुनाए ।

 

Page 6
समाचार

भारतमा नेपाली सम्पदाको बेवास्ता

- राजेश मिश्र

(नयाँदिल्ली)
शिलान्यास गर्ने र योजना अलपत्र छाड्ने प्रवृत्तिको सिकार बनेको छ– बनारसको नेपाली पशुपतिनाथ मन्दिर । विदेशी भूमिमा प्रधानमन्त्रीबाट शिलान्यास गरिएको योजना अलपत्र छाड्दा त्यसले मुलुकको प्रतिष्ठालाई कस्तो असर पार्छ भन्नेमा सरकारी अधिकारीहरूले हेक्का राखेको देखिँदैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसको पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रम निर्माणको शिलान्यास गरेको एक वर्ष नाघेको छ । प्रधानमन्त्रीद्वारा गरिएको शिलान्यास र भूमिपूजनपछि त्यहाँ ‘सिन्को भाँच्ने’ काम भएको छैन । भूमिपूजनको शिलालेख झुन्डिएको छ, प्रगति शून्य छ ।
औपचारिक भ्रमणका लागि नयाँदिल्ली आएका बेला देउवा बनारस पुगेका थिए । काशी विश्वनाथ मन्दिरमा पत्नी आरजुसहित पूजाआजा गरेपछि त्यहीं रहेको नेपाली मन्दिरको भ्रमण गरे, वृद्धाश्रम निर्माणको भूमिपूजा पनि गर्न भ्याए । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी त्यसको साक्षी थिए । शिलालेखमा पनि मुख्यमन्त्री योगीको उपस्थिति दर्ज छ ।
पशुपति क्षेत्र परिसरमा रहेको चार तलाको भवनमा वृद्धाश्रम सञ्चालित थियो । उक्त भवन भत्किएर बस्न योग्य छैन । त्यहाँ रहेका वृद्धवृद्धालाई धर्मशालाको भवनमा कोचाकोच राखिएको छ । जीर्ण भवनले भर्खरै सौन्दर्यीकरण गरिए पनि काशी विश्वनाथ करिडोरको शोभालाई घटाएको छ । त्यही भवनलाई भत्काएर नेपालीपन झल्किने वृद्धाश्रम निर्माणको तयारी हो ।
श्री साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रस्ट) का महासचिव गोपालप्रसाद अधिकारी सरकार तथा दूतावासका अधिकारीलाई पटकपटक स्मरण गराइरहँदा पनि काम अगाडि नबढेको बताउँछन् । ‘देशकै प्रतिष्ठाको कुरा हो, त्यसअनुसारको गम्भीरता बुझिएन जस्तो लाग्छ, उत्तर प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा स्वयं प्रधानमन्त्रीले भूमिपूजा गरेको स्थानका बारेमा यहाँ चासो राख्ने पनि धेरै छन्,’ उनले भने, ‘एक वर्षसम्म काम प्रारम्भ नभएको देख्दा चासो राख्नेलाई जवाफ दिन हामीलाई लाज हुन थालिसक्यो ।’ ३ अप्रिल (चैत २०) का दिन प्रधानमन्त्रीले भूमिपूजा गरेको एक वर्ष कटेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जितेको क्षेत्र हो बनारस । उनकै अग्रसरतामा वाराणसीका नामले चिनाइएको क्षेत्रको चौतर्फी विकास गरिएको छ । अझै पनि काम भइरहेका छन् । अत्यन्तै साँघुरो र थोरै क्षेत्रमा रहेको काशी विश्वनाथ मन्दिर परिसरलाई छोटो अवधिमा अत्यन्तै फराकिलो र भव्य बनाइएको छ । त्यही काशी विश्वनाथ मन्दिर परिसरमै नेपाली पशुपतिनाथ मन्दिर, धर्मशाला तथा वृद्धाश्रम छ । नेपालको सम्पत्ति रहेकाले त्यसको पुनर्निर्माणको स्वाभाविक जिम्मेवारी नेपालकै हुने भयो । नेपाली कलाशैली भल्किने पशुपति मन्दिरसँगै नेपालीपन दिने वृद्धाश्रम निर्माणको तयारी गरिएको हो । ट्रस्टका महासचिव अधिकारी भारत सरकारले पनि पशुपति क्षेत्रको पुनर्निर्माणका लागि चासो देखाएको बताउँछन् । ‘आफ्नो ऐतिहासिक सम्पत्तिको संरक्षणको दायित्व नेपाल सरकारले नै उठाउनुपर्छ भनेर हामीले भन्दै आएका हौं,’ उनले भने, ‘त्यहीअनुसार प्रधानमन्त्री नै आएर भ्रमण र भूमिपूजन गर्नुभएको हो । तर, यतिबेला देखिएको ढिलासुस्तीले राम्रो सन्देश गएन ।’
भारत सरकारले ३ सय ४० करोड रुपैयाँ खर्च गरेर काशी विश्वनाथ मन्दिर करिडोरलाई आकर्षक र भव्य बनाएको छ । तर, सँगै रहेको नेपाली मन्दिर भनेर चिनिने क्षेत्रमा रहेका जीर्ण भवनले करिडोरकै आकर्षणलाई घटाउने गरेको भारतीय पक्षले बेलाबेला भन्ने गरेका छन् । मन्दिरको क्षेत्रलाई फराकिलो बनाउन र भव्यता प्रदान गर्न भारत सरकारले ४ सय निजी घर र अन्य ससाना मन्दिर भत्काएको छ । त्यस क्रममा नेपाली मन्दिरलाई भत्काउने चर्चा पनि नचलेको होइन । स्थानीय नेपालीहरूको दौडधुपले त्यसलाई जोगाइएको अधिकारीले बताए ।
धर्म संस्कृतिसँग जोडिएको विषय भएकाले यसलाई पर्यटन तथा संस्कृति मन्त्रालयले हेर्दै आएको छ । पुरातत्त्व विभागले नेपाली कलाशैली भल्किने गरी वृद्धाश्रमको भवन डिजाइन गरेको छ । त्यसको अनुमानित लागत १८ करोड ४३ लाख नेपाली रुपैयाँ राखिएको छ । तर, बजेटको टुंगो छैन । चालु आर्थिक वर्ष ०७९/८० को बजेट शीर्षकमा पनि बनारसको पशुपति मन्दिर परेन । जबकि दुइटै आर्थिक वर्षको बजेट निर्माण हुँदै गर्दा प्रधानमन्त्री देउवा नै थिए ।
संस्कृति मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बजेटको व्यवस्थापन नभएकैले काम नभएको बताए । ‘बनारसको योजनालाई उच्च प्राथमिकतामा राखेका छौं, त्यसका लागि बजेट राखिदिन यस वर्ष पनि आग्रह गरिएको छ,’ उनले भने, ‘बजेटको सुनिश्चितता भएसँगै काम अघि बढ्नेछ ।’
काशी र नेपालको साइनो पुरानो छ । धर्म र संस्कृतिले नेपालीलाई काशीसँग जोडेको छ । राजाकालीन समयमा काशीसँगको लगाव अझ बढी थियो । पृथ्वीनारायण शाहकै पालादेखि राजाहरूको काशी आउजाउ रहेको मानिन्छ ।
नेपालका राजाले काशी नरेशसँग गंगा घाटमा ६ कट्ठा जमिन खरिद गरेका थिए । त्यो जग्गा नेपालको क्षेत्र भनेर चिनिँदै आएको छ । वि.सं. १८०० आसपास तत्कालीन राजा रणबहादुर शाहले संन्यास लिएपछि उनी काशीको नेपाली भूमिमै बसेका थिए । काशीमा उनका तीन जना श्रीमती साम्राज्येश्वरी, राजेश्वरी र ललित त्रिपुरासुन्दरीको नामकरण गरिएका ठाउँ नै छन् ।
साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर, गंगा नदीको ललिता घाट र राजराजेश्वरीका नाममा भगवती मन्दिर त्यहाँ स्थापित छन् । रणबहादुरका छोरा राजेन्द्र शाहले आफ्ना तीन आमाको नाममा ती स्थानको निर्माण गराएको बताइन्छ । आधुनिककालमा राजाहरूको आउजाउ घट्दै गएपछि एक भारतीय पुजारीले पुस्तौंपुस्ता नेपाली मन्दिर क्षेत्रमाथि नियन्त्रण जमाएर बसेका थिए । स्थानीय नेपालीको प्रयासमा २०४६ सालपछि यस क्षेत्रलाई नेपाल सरकारको नियन्त्रणमा ल्याइएको हो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका बेला भारतीय पुजारीलाई रोजगारीका लागि एक लाख रुपैयाँ दिएर त्यस क्षेत्रलाई मुक्त गराइएको थियो । त्यसयता पर्यटन मन्त्रालयले स्थानीय ट्रस्टमार्फत हेरचाह गर्दै आएको हो ।
हिन्दुहरूको पवित्र धार्मिकस्थलमध्येको महत्त्वपूर्ण स्थल हो– वाराणसीको गंगा किनारमा रहेको काशी विश्वनाथको मन्दिर । भगवान् शिवका १२ ज्योतिर्लिंगमध्येको एउटा यहाँ रहेको मानिन्छ । पशुपतिनाथ मन्दिरका पुजारी रोहित ढकालले विश्वनाथ मन्दिर दर्शनका लागि आउने लाखौं पर्यटकका लागि नेपाली पशुपतिनाथ मन्दिर भ्रमण पनि आकर्षणको केन्द्र रहेको बताए । तर, यता रहेको भद्रगोल अवस्थाले धार्मिक पर्यटकलाई अकर्षित गर्न नसकिएको उनले गुनासो गरे । ‘सोध्नेहरूलाई नेपालमा चुनाव थियो, त्यसकारण ढिला भयो भन्दै आएका छौं, अब त्यो बहाना पनि सकियो,’ उनले भने, ‘यो क्षेत्र पहिले सुन थियो, अहिले हीरा भएको छ । यसको संरक्षण गरेर नेपालले इतिहास जोगाउनुपर्छ ।’

Page 7
समाचार

वीरेन्द्रनगरको कायाकल्प

- ज्योति कटुवाल

(सुर्खेत)
पीपलचौतारामा दैनिकजसो झन्डै ५० जनाको भीड लाग्छ । यहाँ भेला हुने ज्येष्ठ नागरिक लामै बहस गर्छन्– राजनीतिदेखि आफ्नो बाल्यकालसम्मको । वरिपरि जडीबुटी बेच्नेहरू पनि उत्तिकै हुन्छन् । जो जुम्ला, डोल्ला र हुम्लाबाट आएका हुन् । वीरेन्द्रनगरको ठ्याक्कै पहिचान सोचेजस्तो छैन । यहाँ स–साना घरदेखि संक्रिटका भवनसम्म बाक्लिएका छन् । झट्ट हेर्दा न सहर न गाउँजस्तो वीरेन्द्रनगरको परिचय कर्णाली प्रदेश राजधानीसँगै फेरिएको छ ।
दाङबाट ०२२ सालमा सपरिवार वीरेन्द्रनगर बसाइँ सर्दा थारू अगुवा लीलाधर थारूले यो ठाउँ अहिलेको दिनसम्म आइपुग्ला भनेर कल्पेका पनि थिएनन् । उनी अहिले बस्दै आएको भुरेलीमा त्यो बेला खरबारी र सालका रूख मात्र थिए । ‘वन्यजन्तुको त्रास उस्तै, त्यसबेला यस्तोमा पनि साँच्चै मान्छे बस्लान् भन्नेजस्तो झाडी थियो । हँसिया, कुटो, कोदालोले झाडी फालेर जमिन बनायौं,’ उनी सम्झन्छन्, ‘तराईमा हाम्रो बसोबास हुनेजस्तै खरैखरका छानो भएका घर बनाइए ।’ त्यसरी बस्ती बनाइएको वीरेन्द्रनगरको विकास हेर्दा अहिले ७९ वर्षीय थारूलाई दन्त्यकथाजस्तै लाग्छ । भन्छन्, ‘अहिले त हेर्दाहेर्दै कंक्रिटका घरले भरिए ।’
वीरेन्द्रनगर सहरको फैलिँदो स्वरूप र यसको विकास देखेर छक्क पर्ने पुरानो पुस्ता धेरै छन् । तिनैमध्येका एक हुन्, ७६ वर्षीय नरपति राजी । ‘कि खेत कि झाडी, वर्षाको पानीले भरिएर हाइवे तलका खेतहरू सधैं जलमग्न हुन्थे । हामी रमाउँदै पौडी खेल्थ्यौं र माछा मार्थ्यौं,’ उनले भने, ‘३० को दशकअघिसम्म त दिउँसै हिँड्न पनि डर लाग्थ्यो । वन्यजन्तुको त्रास उस्तै, एउटा गाउँमा ४/५ वटा घर मात्र थिए, गाडी आएपछि मात्र म अरू गाउँतिर जान थालेको हुँ ।’
सुर्खेत उपत्यकाको इतिहास खोतल्ने हो भने यहाँ बस्ने थारू र राजी समुदायसम्म पुग्न सकिन्छ । औलो उन्मूलन भएपछि यो उपत्यकामा बसोबास बढ्दै जान थाल्यो । ०२४ सालमा चौहानचौरमा सदरमुकाम सारेपछि यो नगर मात्रै नभएर सिंगो सुर्खेतकै विकासको गति तीव्र भयो । ०२९ सालमा चौहानचौर नाम फेरिएर वीरेन्द्रनगर बनेको इतिहासका जानकार बताउँछन् । अध्येता गोविन्द कोइरालाका अनुसार ०२९ माघ १६ मा भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले जारी गरेको ‘नगर योजना कार्यान्वयन ऐन’ मा वीरेन्द्रनगर भन्ने नाम उल्लेख गरिएको छ । तर, वीरेन्द्रनगर नामकरण हुनुअघि यसको नाम चौहानचौर कि चौघानचौर भन्नेमा मत बाझिएको पाइन्छ । कोइरालाका अनुसार स्थानीय बोलीचालीको भाषामा चौहानचौर, चौघानचौर र चौगानचौर भन्ने गर्थे । ०३४ मा सुर्खेत उपत्यकाको भौतिक परियोजना टोलीले बनाएको वीरेन्द्रनगरको नक्सामा हालको आँखा अस्पताल चोकलाई ‘चौहानचोक’ भनेर लेखिएकाले आधिकारिक रूपमा समग्र वीरेन्द्रनगरको पुरानो नाम त्यही मान्नुपर्ने उनको भनाइ छ । वीरेन्द्रनगर नामकरण भएको १०–१५ वर्षसम्म पनि स्थानीयवासीले पुरानै नाम उच्चारण गर्ने गर्दथे ।
०३१ मा वीरेन्द्रनगर नगरपालिका बन्यो । त्यतिबेला देशमा चार विकास क्षेत्र थिए, जसमध्ये सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर तोकियो । ०३७ सालमा पाँच विकास क्षेत्र बन्दासमेत मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर नै रह्यो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार महेन्द्रकुमार मल्लका अनुसार ०२८ सालमा राजा वीरेन्द्रले राजगद्दी सम्हालेपछि वीरेन्द्रनगरको परिकल्पनासहित नयाँ सहरका रूपमा विकास गर्ने चासो दिएका हुन् । ‘राजाले आफ्नो नाममा सहरको नामकरण गरेसँगै यहाँको गुरुयोजना निर्माण गरी सहरी विकासले गति लिन थालेको हो,’ उनले भने ।
६९ वर्षीय प्रेमदेव गिरी दिउँसो उपत्यकामा कामधाम गरे पनि औलोको डरले राति माथितिर जाने गरेको सुनाउँछन् । ‘राति औलो लाग्छ भनेर दिनभर खेतबारीको काम गरेर बास बस्न माथि जान्थ्यौं । त्यो बेला हाम्रा लागि लेक गोठीकाँडा र बेंसी वीरेन्द्रनगर थियो,’ उनले भने, ‘वीरेन्द्रनगरमा ०२२ सालमा विमानस्थल बनेपछि चहलपहल सुरु भएको हो । उतिबेला जहाज चढ्न छिमेकी जिल्लाहरू कालीकोट, दैलेख, सल्यानलगायतबाट यात्रुहरू आउँथे ।’ सुर्खेतबाट काठमाडौंसम्म ११८ रुपैयाँ भाडा तोकिएको सम्झिँदै उनले ०३० सालमा ३० रुपैयाँ भाडा तिरेर ‘डाकोटा’ प्लेन चढेर सुर्खेतबाट नेपालगन्ज गएको सम्झिए । त्यसबेला वीरेन्द्रनगर चारकुने, सुब्बाकुना, बिउराघारी, कोलडाँडा, नयाँबस्ती, फलाटे, जयपुर, जोगीगाउँ, खोलीगाउँ, मसुरीखेत, तिलपुर, पर्सेनी, कालीमाटी र बुदबुदी गरी १० गाउँमा फैलिएको थियो । अहिले वीरेन्द्रनगर–२ देखि १२ वडासम्म यो बस्ती छरिएको छ ।
झन्डै ५७ वर्षअघिसम्म गौचरनका रूपमा प्रयोग भएको वीरेन्द्रनगरमा ०२२ सालमा औलो उन्मूलन घोषणा गरिएको थियो । ०२३ को मंसिरबाट मान्छेहरू स्थायी रूपमा वीरेन्द्रनगरमा बसोबास सुरु गर्न थालेका हुन् । अध्येता कोइरालाका अनुसार त्यसअघि उपत्यका क्षेत्रमा औलो लाग्ने भएकाले स्थानीयहरू झन्डै आधा घण्टा उकालोमा रहेको गोठीकाँडा गाउँमा बस्थे । ‘थारूहरू भने औलोको डर मान्दैनथे, त्यसैले यहीं बस्थे,’ उनले भने, ‘त्यसअघि पनि फाटफुट रूपमा मान्छेहरू उपत्यकामा बस्थे, त्यस क्रममा थुप्रै मान्छेले औलोको कारण ज्यान गुमाएका छन् ।’
१९७५ मा डिट्ठा भक्तवीर श्रेष्ठले यो उपत्यकाको जिम्वाली पाएपछि कृष्णलाल पन्तलाई आफ्नो कोठारी बनाएको इतिहास भेटिन्छ । उर्वर भूमि उपत्यकामा आवाद गर्ने परिश्रमी थारू चाहिएको थियो । त्यसैले श्रेष्ठ र पन्त दाङ गई ७ घर थारूहरूलाई सुर्खेतमा ल्याएका थिए । गिरीका अनुसार सुरुमा वीरेन्द्रनगरको पतेनीमा चन्डु थारू, तिलपुरमा ढिकुरे थारू, घुस्रामा वालपुरे थारू र नयाँगाउँमा अजन्टे थारूलाई राखिएको थियो ।
थारू बुद्धिजीवी मानबहादुर पन्नाले दाङबाट जमिनदारहरूको दासत्व र शोषण सहन नसकेर आफ्ना पुर्खाहरू सुर्खेत आएको बताए । उनका अनुसार खरको छाना, झ्याल नभएका, भट्टेले बारेका दुईकोठे बास थारूहरूका मौलिक घरका स्वरूप हुन् । तर, अहिले सबैले ती घर भत्काएर पक्की बनाउन थालेको भन्दै मौलिकता हराएकामा उनले चिन्ता जनाए । उनका अनुसार सुरुमा बस्ती विस्तार गर्दा वीरेन्द्रनगरमा घडेरीको मूल्यमा ३ सय रुपैयाँ तोकिएको थियो । यहाँ बस्ती बसाल्न तत्कालीन अञ्चलाधीशले नै निर्देशन दिएको उनको भनाइ छ । ‘त्यसपछि जंगल फँडानी गर्दै बस्ती बसाल्न थालियो,’ उनले भने, ‘अहिले त थारू गाउँमा हामी थारू राजीभन्दा पनि अरू जातिको वर्चस्व छ ।’

बिर्संदै गुरुयोजना
०२९ मंसिरमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टसहित मन्त्रीहरू सुर्खेत उपत्यकामा आए । त्यही क्याबिनेट बैठकले इन्जिनियर माधवभक्त माथेमा नेतृत्वको टोलीले बनाएको गुरुयोजना स्वीकृत गरेको थियो । यो ठाउँ उनले मन पराएर सहर निर्माणको गुरुयोजना र नक्सा निर्माण गर्न इन्जिनियर माथेमालाई निर्देशन दिए । तत्कालीन सरकारले क्षेत्रीय विकासको अवधारणाअनुसार सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणा गरी सहरी विकासको योजना ल्याएको थियो । त्यतिबेला विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर तोकियो । ०३७ सालमा पाँच विकास क्षेत्र बनाएर मध्यपश्चिमाञ्चल विकास क्षेत्र बनेपछि पनि सदरमुकाम वीरेन्द्रनगर नै रह्यो ।
माथेमाका अनुसार ०२९ सालमा भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयको प्रस्तावपछि वीरेन्द्रनगर विकास समितिमार्फत विभिन्न कामहरू सुरु भए । ‘बजेट कति थियो त्यो त ठ्याक्कै भन्न सकिन्न, नेपाल सरकारको बजेट भएकाले मलाई थाहा भएन,’ उनले भने, ‘उत्तरतिर भौतिक विकास र दक्षिणतिर कृषि क्षेत्र बनाउने गरी गुरुयोजना बनाइएको थियो । त्यो कुरा राजालाई मन परेको थियो तर अहिले सबैतिर कंक्रिटका मात्र घरले बजार भरिएछ ।’ उनका अनुसार नगरको मध्य भागमा सरकारी कार्यालयको क्षेत्र भनेर तोकिएको थियो । उनले ४ वर्ष लगाएर गुरुयोजना बनाएका थिए । नक्सांकनका क्रममा ४/५ पल्ट राजासँग भेट गरेका थिए ।
माथेमाले प्रस्तुत गरेको गुरुयोजना राजारानी, प्रधानमन्त्रीसहितको बैठकले रातभर छलफल गरेपछि बिहान २ बजे सकिएको थियो । त्यही बैठकले गुरुयोजना स्वीकृत गरेपछि राजदरबारले नगर विकास योजना अध्यादेश जारी गरेको थियो । त्यसपछि वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माण र त्यसअनुसारका संरचना निर्माणमा सरकारले ध्यान दिएको थियो ।
वीरेन्द्रनगर बन्नुअघि सुर्खेतको मुख्य बजार गोठीकाँडा थियो । पछि जुम्ली चौतारा हुँदै वीरेन्द्रचोकमा मुख्य बजार बन्यो । जहाँ जुम्ला, कालीकोट, जाजरकोट र दैलेखलगायत जिल्लाबाट किनमेल गर्नेहरू आउँथे । ०३८ सालमा रत्न राजमार्ग जोडिएपछि अवस्था झन् सहज भयो । ०३७ सालतिर राजा वीरेन्द्रले सुदूरपश्चिम र मध्यपश्चिम विकास क्षेत्रलाई एउटैमा गाभेर विकास क्षेत्र बनाउँदा सुदूरपश्चिमाञ्चलको सदरमुकाम नै वीरेन्द्रनगर तोकियो । ०४० सालमा भने सुदूरपश्चिम छुट्टै विकास क्षेत्र कायम भयो । अनि सदरमुकाम दिपायल सर्‍यो । कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदम शाही सुरुको गुरुयोजना वीरेन्द्रनगरको विकास निर्माणका क्रममा लागू नभएको गुनासो गर्छन् ।
वीरेन्द्रनगरको गुरुयोजनामा अहिलेको चार लेन सडकभन्दा दक्षिण भेगमा खेतीयोग्य भनेर छुट्याइएको थियो । त्यसकारण सडकदेखि माथिल्लो भाग मात्र सहरी विकासका लागि जग्गा अधिग्रहण, सडक रेखांकन सरकारी भवन क्षेत्र, आवास क्षेत्र, अस्पताल आदिको योजना गरिएको थियो । राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा नेपालगन्जमा रहेका क्षेत्रीय कार्यालयहरू सुर्खेतमा सारिएपछि चहलपहल बढ्न थाल्यो । शान्ति स्थापनापछि विस्थापित भएका मानिसहरू फर्किन थाले र जनघनत्व क्रमशः बढ्दै गयो । नयाँ संविधान जारीपछि प्रदेश राजधानी बनेपछि जनघनत्व ह्वात्तै बढेको छ । प्रदेश राजधानी भएपछि यहाँ घरजग्गाको कारोबार बढ्यो । खेतीयोग्य जमिन प्लटिङ गर्न थालियो । त्यतिबेला गरिएका प्लटिङमा अहिले बस्ती छ । खेतीयोग्य जग्गामा बस्ती विकास रोक्ने नीति नहुँदा जग्गा व्यवसायीले प्लटिङ गर्दै घडेरी बेच्ने क्रम बढ्यो ।
जनघनत्व बढेसँगै सवारी पार्किङ ठूलो समस्या छ । सार्वजनिक शौचालय, साइकल लेन, व्यवस्थित बजार, ढल निकास भरपर्दो छैन । फुटपाथ छैन, जसले गर्दा पैदलयात्रीहरू गाडी हिँड्ने बाटोमै हिँड्नुपर्ने बाध्यता अवस्था छ । खानेपानीको चरम अभाव छ । यी समस्या समाधान गर्नलाई स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकता कमै दिएको पाइन्छ । मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन तथा नागरिक समाजका अगुवा पीताम्बर ढकाल वीरेन्द्रनगर सहर बिग्रन पञ्चायतकालदेखि लापरबाही भएको बताउँछन् । ‘प्राविधिकको हातमा परेन, जनप्रतिनिधिको हातमा परेपछि बिग्रन थाल्यो । यो बिग्रनुमा सबै जनप्रतिनिधिको हात छ, गुरुयोजनाविपरीत निर्माण संरचना रोक्न कसैले सकेनन्,’ उनी भन्छन्, ‘लोकप्रियताका निम्ति काम गर्दा लथालिंग भयो ।’
इतिहासका जानकार गोविन्द कोइराला गुरुयोजनाअनुसार विकास हुन सके वीरेन्द्रनगरले आसलाग्दो भविष्य बोकेको बताउँछन् । कर्णालीका जडीबुटी वीरेन्द्रनगरभन्दा सिधै नेपालगन्ज जाने समस्या हटाउनुपर्ने उनको भनाइ छ । ‘सुर्खेतमा हवाई सेवा नियमित हुन सकेको छैन । विकासमा फड्को मार्न हवाई सेवाको ठूलो भूमिका हुने रहेछ,’ उनले भने, ‘सिधै नेपालगन्ज ठोक्किनुपर्ने सुर्खेतले आफ्नो छुट्टै कुरामा पहिचान बनाउन सकेन ।’
वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले अगाडिका योजना थाहा नभए पनि आफ्नो कार्यकालमा गुरुयोजनाअनुसार नै काम अघि बढाइएको बताइन् । आउने वर्षसम्म वीरेन्द्रनगरका सबै सडकहरूलाई कालोपत्र गरिने र अतिक्रमण रोकेर व्यवस्थित सडक रूपान्तरणको अभियानमा आफू जुटेको उनको भनाइ छ । ठूला पूर्वाधारका रूपमा चक्रपथ निर्माणको काम अघि बढेको बताउँदै उनले बृहत् भेरी लिफ्ट खानेपानी, डम्पिङ साइड निर्माण, अतिक्रमित जग्गा व्यवस्थापनलगायतलाई प्राथमिकतामा राखी सुन्दर सहरको अवधारणा अघि सारेको दाबी उनको छ ।
वीरेन्द्रनगरमा अहिले १ लाख ७० हजार स्थायीसहित झन्डै ४ लाख जनसंख्या छ । गाउँहरू बजारमा रूपान्तरणले नगरको भौगोलिक आकार विस्तार भएको छ । १६ वडा छन् । दैलेखको उत्तरमा दैलेखको गुराँसे, पूर्वमा भेरी नदी पुल, पश्चिममा बांगेसिमलसम्मका भूभाग नगरमा जोडिएको छ । सरकारी भवनदेखि निजी व्यापारिक कम्प्लेक्स थपिएका छन् । सार्वजनिक सभाहल निर्माण भएको छ । प्रदेश रंगशाला निर्माणाधीन अवस्थामा छ । व्यापारका अलावा वीरेन्द्रनगर कर्णालीकै स्वास्थ्य केन्द्रसमेत बन्ने बाटोमा छ ।
०१९ सालमा सुर्खेत जिल्लाको पुरानो सदमुकाम गोठीकाँडामा स्वास्थ्य केन्द्र बनाइएको थियो । जसलाई ०२४ सालमा वीरेन्द्रनगर सारियो । यही केन्द्र ०७५ सालदेखि ३ सय शय्याको सेवा प्रवाह गर्ने प्रदेश अस्पताल बनेको छ । जहाँ कलेजो र मिर्गौला प्रत्यारोपणदेखि १४ विभागहरू सञ्चालनमा छन् । अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘कर्णालीका नागरिकलाई स्वास्थ्य सेवाका लागि प्रदेशबाहिर जाने ठूलो झन्झटबाट मुक्ति पाइएको छ । जटिल र महँगो प्रकृतिका अपरेसन पनि कम शुल्कमा यहीं भइरहेको छ ।’ ०२५ सालमा गंगामाला प्राथमिक विद्यालय खुलेको वीरेन्द्रनगरमा ०६७ देखि मध्यपश्चिम विश्वविद्यालय स्थापना भयो । जसको मातहतमा कर्णालीका १० जिल्लामा १५ आंगिक क्याम्पस सञ्चालनमा छन् ।

विकासको रफ्तार
वीरेन्द्रनगरको विकास पछिल्ला वर्षहरूमा तीव्र बनेको छ । यो वर्षमात्रै संघीय आयोजना कार्यान्वयन इकाईले ५० करोड र नगरपालिकाले ३ करोड रुपैयाँ सडक कालोपत्रका लागि बजेट छुट्याएको छ । जसबाट साना–ठूला गरी करिब ५० वटा सडकमा काम भइरहेको छ । अहिले सडक बन्दै गएका छन् भने व्यवस्थित नालीहरू पनि बनेका छन् । सुब्बाकुनादेखि बांगेसिमलसम्मको सडक खण्डलाई ४ लेनको बनाइएको छ । तर गुरुयोजनाअनुसार काम भएको छैन ।
कर्णालीका विभिन्न जिल्लासम्म सडक विस्तार भएपछि यो सहर कर्णालीमा उपभोग्य सामग्री पठाउने बजारका रूपमा लिन सकिन्थ्यो । स्थानीय व्यवसायी वीरेन्द्रनगरलाई पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनाउँछन् ।
कर्णालीका १० वटै जिल्लाबाट ७९ प्रकारका जडीबुटी सुर्खेत हुँदै बाहिर जाने गरेको छ । सुर्खेतमै संकलन भण्डारण र प्रशोधन केन्द्र नहुँदा नेपालगन्जलगायत अन्य जिल्लामा लिनुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष पदम शाहीले बताए । सुर्खेतलाई पर्यटनसँगै जडीबुटीको व्यापारिक केन्द्रका रूपमा स्थापित बनाउन सकिने भए पनि यहाँ संकलन र प्रशोधन केन्द्र नभएको उनले बताए । वीरेन्द्रनगरमा निर्माण सुरु गरिएको ५ सय क्विन्टल क्षमताको जडीबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र छ । प्रदेश राजधानी भएपछि यहाँ भौतिक पूर्वाधारले फड्को मार्दै गएको, जनघनत्व बढिरहेको र पर्यटकीय गतिविधि बढेको छ । व्यवसायी हरि विष्ट वीरेन्द्रनगरलाई रात्रिकालीन सहरका रूपमा विकास गर्न सकिने सम्भावना मात्रै देख्दैनन्, त्यही सम्भावना देखेर सुविधासम्पन्न होटल/रेस्टुरेन्ट खोल्ने क्रममा रहेको बताउँछन् ।
सुर्खेत उपत्यका तत्कालीन राजा वीरेन्द्रको रोजाइमा परेकाले पनि यसले छुट्टै खालको परिचय पाएको साझा मत वीरेन्द्रनगरमा भेटिन्छ । आफ्नै नामबाट उनले उपत्यकाको नामकरण मात्रै गरेनन्, यहीं जग्गा खरिद गरे । नापी कार्यालय सुर्खेतले उपलब्ध गराएको लालपुर्जा प्रतिलिपिअनुसार ०३४ सालमा ३४ बिघा ७ कट्ठा पौने ५ धुर जग्गा राजा वीरेन्द्रको नाममा छ । वीरेन्द्रनगर–११ मा भेरी नदीनजिक रहेको जमिन हो । अहिले उक्त जमिन नेपाल ट्रस्टका नाममा रहेको सुर्खेत भूमि आयोगका अध्यक्ष श्रीधर पौडेलले बताए ।

समाचार

महाकाली उत्खननमा ९ विरुद्ध मुद्दा दायर

- कान्तिपुर संवाददाता

कञ्चनपुर (कास)– महाकाली नदीको उत्खननसम्बन्धी ठेक्कामा ५ करोडभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालयसिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले २०७८/७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानि नोक्सानी भएको ठहर गरेको छ । भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरी नगरपालिकाको राजस्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत उपाध्यायलाई सोही बराबरको बिगो दाबी गरेको छ । यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ करोड ४७ लाख हानि नोक्सानी गरेको भन्दै सोही बराबरको बिगो दाबी गरिएको छ । इन्जिनियर ऐर, अधिकृत अधिकारी, नासु भट्ट र लेखापाल चौधरीले १ करोड ९५ लाख बराबरको राजस्व चुहावट गरेको भन्दै सोही बराबरको बिगो दाबी गरेको छ । कन्स्ट्रक्सनका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र प्रतिनिधि दिवाकर भट्टविरुद्ध ५ करोड ४३ लाख बराबरको बिगो दाबी गरिएको छ । सञ्चालक ईश्वरीको मृत्यु भइसकेकाले ५ करोड ४३ लाख बिगो उनकी श्रीमती खगेश्वरी भट्टबाट असुल गर्न माग गरिएको छ ।

 

Page 8
खेलकुद

शीर्ष आठमा ४ अंकको अन्तर

- हिमेश

(काठमाडौं)
सहिद स्मारक ए डिभिजन लिगको आठ चरणका खेल समाप्त हुँदैमा उपाधि होडमा रहने यिनै टिम हुन् भन्न गाह्रो हुन्छ । तर, यसले कम्तीमा प्रारम्भिक संकेत भने गर्छ । डबल लिगमा भिड्दै गरेका १४ क्लबमध्ये आठ टिमलाई केही हसदम्म उपाधिका बलियो प्रत्याशी मान्न सकिन्छ । शीर्षमा रहेको सातदोबाटो युवा क्लबको १६ अंक छ भने आठौंमा रहेको मछिन्द्र एफसीको १२ अंक । त्यो भनेको ४ अंकको अन्तर । अझ शीर्ष ५ टिमबीच त २ अंकको अन्तरमात्रै छ ।
त्यसैले त एकै चरणको नतिजा तलमाथि भयो भने पनि कुन टिम कता रहने हो, त्यसको समीकरण फेरिनेछ । नवौं स्थानको एपीएफ पनि धेरै टाढा छैन । तर अहिले शीर्ष आठ टिमको मात्र चर्चा गरिरहेका छौं । त्यसमध्ये कुनैले लिग जित्ने अनुमान गर्न सकिन्छ । यति धेरै प्रत्याशी हुनु लिगका लागि सुखद पनि हो । अबको ५ चरणपछि लिग मध्यभागमा पुग्नेछ । त्यसपछि उपाधि होड अझ स्पष्ट हुनेछ । तब ठोस विश्लेषण गर्न सकिन्छ । अहिले भने शीर्ष आठ टिममा केन्द्रित होऔं ः

सातदोबाटो युवा क्लब
अंक ः १६
सातदोबाटो फेरि शीर्षस्थानमा उक्लेको छ । चौथो चरणमा टोलीले पहिलोपल्ट शीर्षस्थान ओगटेको थियो । फेरि त्यही स्थानमा पुग्नुको कारण भने मनाङ मर्स्याङ्दीमाथि प्राप्त जित नै हो । यसपल्टको लिगमा ५ जित निकाल्ने एक्लो टिमका रूपमा सातदोबाटो नै छ । त्यसअगाडि टोलीले आर्मीसँग सनसनीपूर्ण ३–३ को बराबरी खेलेको थियो । दशरथ रंगशालामा भएको यो खेल धेरै अर्थमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलमा पर्छ । गत वर्ष लिगमा डेब्यु गर्नेक्रममा तेस्रो चरण समाप्त हुँदा सातदोबाटो पहिलोपल्ट शीर्षस्थानमा थियो । त्यसपछि भने टोलीले लय गुमायो । त्यसैले सातदोबाटोलाई अहिलेकै लय कायम राख्ने चुनौती हुनेछ ।

मनाङ मर्स्याङ्दी क्लब
अंक ः १५
मुख्य प्रशिक्षक किरण श्रेष्ठ के मान्छन् भने मनाङ मर्स्याङ्दी अब त्यस्तो ठूलो क्लब रहेन, जुन पहिले थियो । एउटा तथ्य के चाहिँ हो भने मनाङ अचेल स्टार खेलाडीले भरिएको टिम रहेन । यद्यपि मनाङ यसपल्ट पनि उपाधिका लागि बलियो दाबेदार नै हो । छैटौं र सातौं चरणमा शीर्षस्थान ओगटेको मनाङ त्यसपछि भने दोस्रो स्थानमा झरेको थियो । कारण टोलीको सातदोबाटोसँगको हार । यससँगै मनाङको ८ खेलको अपराजित यात्रा पनि टुंगिएको छ, वर्ष ०७८ को एक खेल पनि जोडेर । सातदोबाटोले त्यस खेलमा मनाङको लय बिगार्न ‘डिस्ट्रक्टिभ’ खेल खेलेको थियो, जुन अचुक साबित भयो ।

चर्च ब्वाइज क्लब
अंक ः १४
चर्च ब्वाइजलाई पछिल्लो समय बराबरीको रोग लागेको छ । सुरुआती तीन खेल लगातार जितेको चर्च ब्वाइजले त्यसपछिका ५ खेलमा बराबरी खेलेको छ । धन्न, टिम यसबीच पराजित भएन । खासमा चर्च ब्वाइज नै लिगमा अपराजित एक्लो टिम छ । यसबीच सातौं चरणसम्म अघोषित रूपमा मुख्य प्रशिक्षक रहेका प्रदीप हुमागाईं अलग भइसकेका छन् । भन्न त उनले श्रम स्वीकृति नपाएर छाडेको झनेका छन् । तर भित्रीकथा बेग्लै छ, व्यवस्थापनसँग उनको कलह चर्किएको थियो । जेहोस्, उनी गएपछि चर्च ब्वाइजले नेपाली घरेलु फुटबलकै सबैभन्दा सफल प्रशिक्षक पाएका छन्, बालगोपाल महर्जन । उनी आएपछि क्लबले अझ राम्रो गर्ने विश्वास गर्न सकिन्छ ।

जावलाखेल युथ क्लब
अंक ः १४
जावलाखेल वर्ष ०६८ को लिगयता पहिलोपल्ट लयमा देखिएको छ । त्यतिबेला जावलाखेल तेस्रो स्थानमा रहेको थियो । अहिले आठौं चरणको समाप्तिमा चौथोमा छ । पहिलो चरण नै सही, जावलाखेल शीर्षमा थियो । अहिले जावलाखेलले जसरी खेलिरहेको छ, फेरि एकपल्ट शीर्ष तीनका लागि बलियो प्रत्याशी देखिन्छ । आफ्नो अन्तिम खेलमा आर्मीलाई रोक्न सकेको भए जावलाखेलको स्थिति अझ बलियो हुन्थ्यो । थ्रीस्टारलाई पराजित गर्नु जावलाखेलको जारी लिगको सबैभन्दा उल्लेखनीय पक्ष रह्यो । जावलाखेलका प्रशिक्षक छन्, सुनील श्रेष्ठ । उनी के मान्छन् भने नेपाली घरेलु फुटबलमा एउटै टिमको लगातार राम्रो प्रदर्शनको अपेक्षा राख्नु गाह्रै छ ।
थ्रीस्टार क्लब
अंक ः १४
समय–समयमा प्रशिक्षकको जिम्मेवारीबाट संन्यास लिने बताउने तर प्रत्येक लिगअघि नयाँ चुनौती सामना गर्न रूचाउने प्रशिक्षकमा रहेका छन्, मेघराज केसी । यसपल्ट उनी फेरि थ्रीस्टारमा फर्केका छन् । जहाँ उनले लामो समयमात्र बिताएनन्, केही ठूला सफलता पनि हात पारे । थ्रीस्टारको टिम भन्नु नै एक प्रकारले यिनै प्रशिक्षक रहेका छन् । कहिलेकाहीं उनी अचम्म पाराका कुरा गर्छन् अनि कोही कसैको चर्को विरोध गर्छन् । तर, उनले जे बोल्छन्, सही बोल्छन् । प्रश्न हो, उनी यसरी बोलिरहने मात्र छन् कि मैदानमा उत्कृष्ट प्रदर्शन पस्कन सफल हुनेछन् त ? पछिल्ला तीन खेलमा ७ अंक जोडेर थ्रीस्टार कम्तीमा उपाधि होडमा सामेल भएको छ ।

त्रिभुवन आर्मी क्लब
अंक ः १२
आर्मीले विदेशी खेलाडी आफ्नो टिमबाट नखेलाउने जिद्दी गरिरहन्छ कि त्यस निर्णयमा परिवर्तन ल्याउँछ ? सम्भवतः त्यस्तो दिन आउने नै छ, जतिबेला आर्मीलाई विदेशी खेलाडी चाहिन सक्ने छ । यसअघिका दुई लिगको उपाधि होडमा सम्मिलित आर्मी यसपल्ट केही पछाडि देखिन्छ । वर्ष ०६१ मा लिगमा डेब्यु गरेयता आर्मी दुईपल्ट उपाधिको निकै नजिक पुगेर पनि त्यसबाट चुकेको छ थियो । यसपल्ट पनि आर्मी प्रशिक्षक नवीन न्यौपानेकै नेतृत्वमा खेलिरहेको छ । आफ्ना केही प्रमुख खेलाडी गुमाएको हुनाले टिमको प्रदर्शन अपेक्षित भएको उनी मान्छन् । एपीएफसँग यसपल्ट पराजित हुनु आर्मीका लागि नमज्जाको प्रदर्शन रह्यो ।

संकटा क्लब
अंक ः १२
पछिल्लो समय लिगमा महत्त्वाकांक्षी योजनासहित उत्रेको संकटाले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । पोहोर विष्णु गुरुङको प्रशिक्षणमा खेलेको संकटा यसपल्ट फेरि आफ्नै घरका प्रशिक्षक सल्याण खड्गीको नेतृत्वमा छ । सुरुआती दुई खेलबाट एक अंकमा सीमित संकटाको यस लिगमा सबैभन्दा महत्त्वपूर्ण जित आफ्नो पारम्परिक र ऐतिहासिक प्रतिद्वन्द्वी एनआरटीविरुद्ध निकाल्यो । संकटाको यसपल्टको प्रदर्शनको मुख्य विशेषता ८ खेलमा ५ क्लिनसिट हो । त्यसमध्ये गोलरक्षक विष्णुकुमार केसीले त २ सय ७० मिनेटको खेलमा कुनै गोल खाएका छैनन् । जुन वास्तवमै उल्लेखनीय हो । त्यसको ठीक विपरीत संकटाको अग्रपंक्तिले चार खेलमा कुनै गोल गर्न सकेको छैन । समस्या यहीं हो ।

मछिन्द्र फुटबल क्लब
अंक ः १२
दुईपल्टको डिफेन्डिङ च्याम्पियन हो मछिन्द्र । तर लगातार तेस्रो उपाधि जित्ने टोलीको अभियान त्यति गतिलो हुन सकेको छैन । मछिन्द्र सुरुआती दुई खेलमा पराजित रह्यो । तेस्रो खेलमा पुग्दा पनि एक अंकमै सीमित रह्यो । छैटौं चरण समाप्तिमा मछिन्द्रले मुख्य प्रशिक्षकका रूपमा साह्रै अनुभवी किशोर केसी भित्र्याएको छ । यसअघिका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिममै व्यस्त रहने भएपछि उनले क्लबसँग अलग हुने निर्णय गरेका थिए । केसी आएयता मछिन्द्र लगातार दुई खेलमा विजयी रह्यो । त्यसमध्ये आफ्नो अन्तिम खेलमा मछिन्द्र खुमलटारमाथि ७–३ ले विजयी रह्यो । यही प्रदर्शनले त हो मछिन्द्र फेरि उपाधि होडमा फर्केको ।

 

खेलकुद

उपाधिलाई दुई पुलिस भिड्ने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– विभागीय टोली नेपाल एपीएफ र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थिति उल्ट्याउँदै एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । लगातार दुई सेट आर्मीले २५–२३, २५–१२ नतिजा आफ्नो पक्षमा पार्‍यो । एपीएफले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै खेल २–२ को बराबरीमा पुर्‍याएको थियो । पाँचौं तथा निर्णायक सेट १५–१० ले आफ्नो पक्षमा पार्दै एपीएफले फाइनल सुनिश्चित गर्‍यो ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२२, २५–२०, २५–२१ को सोझो सेटमा पराजित गरी एपीएफसँग उपाधि भिडन्त पक्का गर्‍यो । फाइनल शनिबार हुनेछ । विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार
प्राप्त गर्नेछन् ।

खेलकुद

विराटनगर र पुलिसको लगातार जित

- विनोद भण्डारी

(विराटनगर)
प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र एनबीएससी विराटनगरले शुक्रबार जित निकाल्दै समूहमा समान ४ अंक जोडेका छन् । पुलिसले एनबी ग्रुप धनगढीलाई ६ विकेट र विराटनगरले युनाइटेड दिल्लीलाई ३२ रनले हराएर ‘ख’ समूहको शीर्ष दुई स्थानमा पुगेका हुन् । विजेता दुई टिमबीच शनिबार हुने लिगको अन्तिम खेलको विजेताले उपाधिका लागि आर्मीसँग प्रतिस्पर्धा गर्ने छ । आर्मी समूह ‘क’ बाट फाइनल पुगिसकेको छ ।
विराटनगर जुट मिल मैदानमा शुक्रबार १ सय ३० रनको लक्ष्य पछ्याएको पुलिसले १६.४ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो । दिलीप नाथले विस्फोटक ब्याटिङ गर्दै ३६ बलमा ८ चौका र २ छक्कासहित ७५ रनको अर्धशतकीय इनिङ्स खेले । उनी प्लेयर अफ द म्याच भए । योगेन्द्र कार्कीले ४८ रन बनाउँदा ३ छक्का र ४ चौका प्रहार गरे । शंकर रानाले १८ वलमा ३५ र अमित श्रेष्ठले १४ रनको योगदान गरे । बलिङमा धनगढीका हेमन्त धामीले २ तथा कौशल राजपुत र दिपक भट्टले समान १–१ विकेट लिए ।
यसअघि धनगढीले ७ विकेट गुमाई १ सय २९ रन बनायो । दीपक बोहराले ३८ बलमा ६५ रन जोडे । उनले २ छक्का र ९ चौका प्रहार गरे । उत्तम थापामगरले ५१ रन बनाउँदा ३ छक्का र ५ चौका प्रहार गरे । दीपक भट्टले ५ छक्का र २ चौकामा ४४ बनाएका थिए । पुलिसका योगेन्द्रसिंह कार्कीले ४४ रन खर्चेर ३ विकेट लिए । रशिद खानले ३१ रन खर्चेर २ विकेट र मन्जित श्रेष्ठले १ विकेट लिए ।
दोस्रो खेलमा पहिलो व्याटिङ गरेको एनबीएससी विराटनगरले १६.३ ओभरमा समेटिँदै १ सय २९ रनको मध्यम योगफल तयार गर्दा रवि शर्माले २३ बलमा ५ चौकासहित २५ रन जोडे । विधान गोस्वामीले ७ बलमा २ छक्का र २ चौकासहित २०, इमरानले ७ बलमा २ छक्का र १ चौकासहित १७ रन, सुमन गतराजले १९ र सतिश कुमारले १६ रनको योगदान दिए ।
१ सय ३० रनको लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो । दिल्लीका मनीष मिश्रले १७, शक्ति केडीले १४ र अंकितले १२ रनको योगदान गरे । विराटनगरका मेहाङले १५ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । आयरले १७ रन खर्चेर ३, प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले १–१ विकेट लिए ।

खेलकुद

मुकेशले जिते हाफ म्याराथन

- कान्तिपुर संवाददाता


धनगढी (कास)– नयाँ वर्षको अवसरमा शुक्रबार आयोजित धनगढी हाफ म्याराथनको उपाधि आर्मीका धावक मुकेश पालले जितेका छन । निर्धारित २१.१ किलोमिटर दूरी उनले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएका छन् ।
आर्मीकै नरेन्द्रसिंह रावल दोस्रो भए । उनले १ घण्टा ७ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरे । उनले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा सन्तोषविक्रम विष्ट तेस्रो भए । उनले १ घण्टा ८ मिनेट ३५ सेकेन्डमा पार । उनले २२ हजार २२२ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा ४ सय धावकको सहभागिता रहेको संयोजक मनीष कुँवरले बताए ।
महिला दौडमा भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्वितीय र नेहा खड्का तृतीय भए । उनीहरूले क्रमशः ५ हजार ५५५, ३ हजार ? र २ हजार २२२ रुपैयाँ पुरस्कार राशि प्राप्त गरे । अपांगता भएका व्यक्तिका लागि ट्राइसाइकिल दौड गरिएको थियो । सहभागी सबैलाई पुरस्कार व्यवस्था गरिएको आयोजक धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले बताए । जेसिजले हरेक वर्ष नव वर्षमा हाफ म्याराथन गर्दै आएको छ ।

खेलकुद

घलेगाउँमा छैटौं गोल्डकप सुरु

- आश गुरुङ

(लमजुङ)
स्मार्ट भिलेज घलेगाउँमा शुक्रबारदेखि आयोजित स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लब विजयी भएको छ । प्रतिद्वन्द्वी नेपाल भानु युनाइटेड तनहुँका खेलाडीले टाइब्रेकरमा गोल गर्न चुक्दा एपीएफले विजयी सुरुआत गर्‍यो । स्वर्गभूमि रंगशालामा आयोजित प्रतियोगिताको उद्घाटन खेल निर्धारित ४०–४० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो । एपीएफ टाइब्रेकर ७–६ ले विजयी भयो । एपीएफले सातौं गोल गर्दा भानुका कप्तान किरण गुरुङले गोल गर्न चुकेपछि टोली पहिलो खेलबाटै बाहिरियो । एपीएफका गोलकिपर रविचन्द्र थापा म्यान अफ द म्याच भए ।
क्व्होलासोंथार गाउँपालिका ३, घलेगाउँले यसअघि खुला प्रतियोगिता आयोजना गर्दै आएकामा यसवर्ष पहिलोपल्ट आमन्त्रित गरेर खेलाइएको हो । नकआउटका आधारमा भएको प्रतियोगितामा जिल्लाका ५ र बाहिरी जिल्लाका ७ टिम
सहभागी छन् । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्डकप पुरस्कार राखिएको छ । प्रतियोगिताको पुरस्कार हाइअल्टिच्युटमा आयोजित प्रतियोगितामध्ये धेरै रहेको घलेको दाबी थियो । यो समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा भइरहेको छ ।
उपविजेताले ३ लाख ३ सय ५५ रुपैयाँ पाउनेछ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार पाउनेछन् । प्रतियोतिगाको ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
शनिबार समाज कल्याण खेलकुद केन्द्र काठमाडौं र वाग्मती फुटबल क्लब सर्लाही तथा त्रिवेणी युवा क्लब बेंसीसहर र कास्की ११ पोखराबीच प्रतिस्पर्धा हुनेछन् । क्व्होलासोंथार गाउँपालिका ३ का अध्यक्ष आसवीर गुरुङले घलेगाउँको प्रचारका
लागि यसअघि महोत्सव आयोजना गर्दै आएकामा यसपालि फुटबल प्रतियोगिता गरिएको बताए ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


नवजागृतिलाई ओसन कप
गोरखा (कास)– नवजागृति युवा क्लब सिमराले आठौं ओसन कप यू–१३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शुक्रबार फाइनलमा नवजागृतिले लक्ष्मी सामुदायिक शिक्षासदन गोरखालाई ५–४ गोलले पराजित गर्दै उपाधि जित्यो । नवजागृतिका जेम्स चौधरीले २, सागर दासले २ र सैफुल्ला मियाँले १ गोल गरे । लक्ष्मी सामुदायिकको तर्फबाट उकेश्वर महतोले ३ र मनिक योगीले १ गोल गरेका थिए । विजेता नवजागृतीले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाए । सामुदायिकका निखिल बस्नेत सर्वोत्कृष्ट खेलाडी भए । विजेतालाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर र वडा अध्यक्ष कुलबहादुर कुँवरले पुरस्कृत । लिगकम नकआउटका आधारमा १२ टिमले प्रतिस्पर्धा गरेको आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले बताए । द सुवास मग्रातीलाई ओसन वर्ष खेलाडी २०७९ बाट सम्मान गरियो ।
फिक्कललाई सन्दकपुर गोल्डकप
इलाम (कास)– फिक्कल युनाइटेडले तेस्रो सन्दकपुर गोल्डकप फुटबलको उपाधि जितेको छ । सन्दकपुर गाउँपालिका–३ स्थित सातखाल्डे मैदानमा जारी प्रतियोगिताको फाइनलमा फिक्कलले बुट्टाबारी युनाइटेडलाई ३–२ ले हरायो । १२ औं मिनेटमा नयन प्रधानको गोलमा फिक्कलले अग्रता लियो । त्यसमा २३ औं मिनेटमा सौरभ कार्की र ५८ औं मिनेटमा शेखर राईले गोल थपे । बुट्टाबारीका कप्तान रोमन खवासले दुवै गोल पेनाल्टीमा गरे । उनले ५२ र ६६ औं मिनेटमा गोल गरेका हुन् । विजेताले १ लाख ५१ हजार र उपविजेताले ८१ हजार रुपैयाँ पुरस्कार पाए । सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई भए । डिफेन्समा आयुष क्षेत्री र गोलरक्षकमा सर्जन लिम्बु उत्कृष्ट भए । उनीहरूले जनही ४ हजार पाए । उदीयमान खेलाडी देउराली स्पोर्टिङ क्लबका निशान राई भए ।
रत्नाङ्गे माउन्टेन बाइक रेस हुने
काठमाडौं (कास)– रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस वैशाख २१–२४ सम्म हुने भएको छ । प्रतियोतिगा सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुनेछ । प्रतियोगितामा एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (४० वर्षमाथि) र जुनियर (१८ वर्षमुनि) गरी चार विधामा हुनेछ । फाप्लु माउन्टेन बाइक क्लबको आयोजना र जिरो लेभल एमटीबी स्कुलको व्यवस्थापनमा हुने प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको छ ।

Page 9
कोसेली

म मृत्युलाई पनि प्रेम गर्छु

- सरस्वती प्रतीक्षा


हेर्ने कथा’ का शृंखलाहरूमा पछिल्लोपटक अत्यधिक रुचाइएको एक वृत्तचित्र हो– ‘बाघको बंगारा’ । जंगली मौरीको मह काढ्ने मह सिकारीहरूको चुनौतीपूर्ण यात्रा र संघर्षको वरपर घुम्छ वृत्तचित्र । जीवन बाँच्न जीवनलाई नै दाउमा राखेर भीरमौरीको मह काढिरहेको एक पात्र भन्छ, ‘हामी जइ दिन जन्म्या हौं, उसै दिन मर्‍या हौं ।’
सरल शब्दमा कति गहिरो दर्शन बोले ती मह सिकारीले । भोगाइको एक वाक्यसामु ज्ञानको समग्र ठेली नै कहिलेकाहीँ हलुंगो महसुस हुँदोरहेछ । अचानक मलाई ओशोको ‘मैं मृत्यु सिखाता हुँ’ भन्ने किताब हलुंगो लाग्यो । जन्म भएदेखि नै मानिस मृत्युतिर ओरालो दर्गुछ भन्ने गरुड पुराण हलुंगो लाग्यो । पूर्वबाट पश्चिममा क्रमशः आफ्नो पंख फिँजाइरहेको ‘द टिबेटियन बुक अफ द डेड’ हलुंगो लाग्यो । अँ साँच्ची, मृत्युचाहिँ आफैंमा कति गह्रुंगो अनि कति हलुंगो कुरा हो ?

मृत्युको मिसकल
सुन्दा अपत्यारिलो सुनिन सक्छ, तर कतिपय आउँदा घटनाहरूको सङ्केत सपनाले दिन्छ मलाई । यसको फाइदा के भने राम्रो सपना देख्दा बिनाकारण खुसी थपिदिन्छ सपनाले । बेफाइदा के भने नराम्रो सपना देख्दा अनावश्यक तनाव र दुःख थपिदिन्छ सपनाले । सपनाको कारण ‘अतिरिक्त खुसी’ र ‘अतिरिक्त दुःख’ बारबार मिलिरहन्छ मलाई ।
विक्रमाब्द २०७६ को कुरा हो । लगातार तीनपटक गाडी दुर्घटनाग्रस्त भएको सपना देखेँ, त्यो पनि केही दिनको अन्तरमा । एकपटक साँघुरो घुम्तीमा मोड्न नमिलेर गाडी पल्टियो । अर्कोपटक कतै पार्किङमा राखेको गाडी आफैं गुड्दैगुड्दै गएर पल्टियो । फेरि अर्कोपटक बाटोमा जनावरले बाटो काट्दा अचानक सन्तुलन गुमाएर दुर्घटनाग्रस्त भयो । सपनाले बारबार गाडी दुर्घटनाको संकेत गरेपछि म निकै तनावमा थिएँ ती दिनहरूमा । गाडी नचलाई नहुने अवस्थामा बाहेक सकेसम्म स्कुटर चलाएर हिँडे केही दिन ।
ठीक त्यही समयमा पोखरामा आठौं लिटरेचर फेस्टिभल चलिरहेको थियो । पहिलो दिनको मेरो सेसन घनघोर वर्षाका कारण तेस्रो दिन सर्‍यो । फेस्टिभलमा दोस्रो दिन आयोजकले फिस्टेल लजमा डिनरको व्यवस्था गरेका थिए । फेस्टिभलकै लागि आएकी गायिका झुमा लिम्बू र मचाहिँ त्यो साँझ फिस्टेल लजतिर होइन, केवल दुई जना समय बिताउने उद्देश्यले खपौदीस्थित मरिना बिचतर्फ लाग्यौं । झुमासितको त्यो साँझ सुरु हुन नपाउँदै अचानक ठूलो भाइ सुरजको फोन आयो । केही पारिवारिक कुरा होला, पछि कुरा गर्नुपर्ला सोचेर सुरुमा त फोन उठाइनँ किनकि लामो समयपछि भेट भएकाले झुमासितको त्यो पलको स्वाद नबिथोलियोस् भन्ने चाहन्थेँ म । लगातार चार, पाँच कल आएपछि भने फोन उठाएँ । उताबाट ‘हेलो’ होइन सुरुमै प्रश्न आयो, ‘तँ कहाँ हो र ? फोन उठाउन किन यत्रो समय लागेको ?’
मैले भनें, ‘म काठमाडौंबाट आएकी एउटी साथीसित लेकसाइडमा छु ।’ केही हड्बडाएको स्वरमा उताबाट सुरजले भन्यो, ‘मेरो गाडी एक्सिडेन्ट भो भर्खरै । थानकोट नजिकै हो ।’
त्यसपछि अचानक मेरा हातखुट्टा लुलो भए । एकसाथ थुप्रै प्रश्नहरू सोधेँ, ‘के भयो ? कस्तो छ हाल तेरो ? गाडी कसले चलाइरहेको थियो ?’
‘गाडी त लाङ्घालीले (घरकै ड्राइभर) चलाइरहेको थियो । म पछाडिको सिटमा सालासँग थिएँ । ट्रकले साइडपट्टिबाट हान्यो । मेरो एउटा हात भाँच्चिएको छ, कत्ति नि चल्दैन । अरूलाई सामान्य चोट मात्र लागेको छ । एम्बुलेन्स कुरिरहेका छौं,’ उसले एक सासमा यति कुरा बतायो र एकछिनमा फोन गर्छु भनेर फोन राख्यो ।
हात मात्रै भाँच्चिएको भन्ने कुराले मनमा केही राहत दिए पनि उसले केही ढाँटिरहेको छ भन्ने कुराले मन सशंकित भइरह्यो । एकै छिनपछि फोन गर्दा उसको मोबाइल स्विच अफ थियो । ड्राइभरको पनि अफ थियो । उसको सालाको फोनचाहिँ लागिरहेको थिएन ।
त्यही रात उत्तिखेरै सानो भाइ वसन्त, ठूलो बुहारी पम्फा र अन्य केही आफन्त काठमाडौंतर्फ हान्निए । मसित छटपटाई बस्नुको अरू विकल्प थिएन । एकान्तको खोजीमा तालछेउ पुगेका झुमा र म अप्रत्याशित बेचैन बोकेर फर्किनुपर्‍यो ।
गाडी दुर्घटना भएको सपनाबाट जोगिन आफूले सकेसम्म गाडी नचलाए पनि सपनाले भाइलाई हान्यो र लगभग मृत्युको मुखमा पुर्‍यायो । आफैं सहजकर्ता भएकाले अन्तिम समयमा ‘सेसन चलाउँदिन’ भन्दा आयोजकलाई धोका हुन्छ सोचेर भोलिपल्ट जेनतेन सेसन चलाएँ । मनमा जति पीडा भए पनि ओठमा हाँसो बोकेरै सेसन चलाएँ । भोलिपल्टको आफ्नो सेसन सकेर जब म हड्बडाउँदै काठमाडौंस्थित बी एन्ड बी हस्पिटल पुगेँ, सुरजको हातको अपरेसन सकिएको थियो, तर होस आइसकेको थिएन । पूरापूर आठ घण्टाको लामो अपरेसन । डा. विवेक बाँस्कोटा र उनको टिमले बी एन्ड बी हस्पिटलको इतिहासमा हातको सबैभन्दा जटिल शल्यक्रियामध्येको एउटा हो भन्दै थिए रे ! सुरजको हात सामान्य तवरले भाँच्चिएको थिएन, हातको हड्डी नै थुप्रै टुक्रा भएको थियो । टुक्रिएका ती हड्डीहरू जोड्न एकदम कठिन भएछ । हड्डीको कति टक्रा त दुर्घटनाग्रस्त गाडीमै छोडिएको थियो, जुन पछि मात्रै भेट्यौं हामीले । पछि डाक्टरहरूले दोस्रो अपरेसनको दौरान कम्मरनेरको हड्डी निकालेर उक्त खाली भएको ठाउँमा हड्डी राखेर जोडिदिएका थिए । यसरी मैले आफ्नो ठूलो भाइलाई झन्डै–झन्डै गुमाएर फिर्ता पाएकी थिएँ । मृत्युको त्यो मिसकल बडो भयानक मिसकल थियो ।

मृत्युको कल
गाडी दुर्घटनाको लगभग नौ, दस महिनापछि फेरि पटक–पटक सपनामा म भाइहरूलाई देखिरहेकी थिएँ । उही र उस्तै खाले सपनाहरू, तर सबै त्रासदीपूर्ण । एउटा सपनामा सानो भाइ वसन्त र मात्रै थियौं, सुरज हराइरहेको थियो । हामीहरू हस्याङफस्याङ गर्दै उसलाई खोजिरहेका थियौं । अर्को सपनामा बाटोमा हामी तीन जना हिँड्दा–हिँड्दै सुरज मात्रै अचानक् आकाशमा उड्न सुरु गर्‍यो र हेर्दाहेर्दै धेरै माथि गयो ।
सुरजको हातमा राखिएको स्टिल निकाल्नै बाँकी थियो र डाक्टरले छिट्टै अपरेसन गरेर निकाल्ने भनिरहेका थिए । यस्तोमा नराम्रो–नराम्रो सपना देख्दा मन अत्तालिइरहेको थियो । एक रात फेरि दुवै भाइहरूलाई सपनामा देखेँ । सुरजचाहिँ तालको पानीमा डुब्न–डुब्न लागिरहेको थियो । वर्षायामको उर्लंदो सेती नदीमा समेत माथि पुलबाट हाम फालेर पौडिन खप्पिस भाइ तालमा कसरी डुब्न सक्छ ? मनले मानिरहेको थिएन, तर पनि ऊ डुबिरहेको थियो । आफूलाई पौडिन नआउने हुनाले ‘वसन्त, दाइलाई बचा !’ भन्दै म बेस्कन चिच्याइरहेकी थिएँ । अचानक् झल्यास्स ब्युँझिएँ । एकदम नरमाइलो लाग्यो ।
२०७७ साल, असोज १० गते । अघिल्लो रातको नराम्रो सपनाले मन एकतमासको भइरहेको थियो । अपरेसनको दिन नजिकिँदै गर्दा म नराम्रो सपनाको कुरा सुनाएर भाइलाई हतोत्साहित गर्न चाहन्नथेँ, तर आफैंभित्रको छटपटी लुकाउन पनि सक्दिनथेँ । आत्तिएर म उसलाई भेट्न गएँ । शनिबार हुनाले ऊ अलि फुर्सदमा थियो । मेरो सपनाको विपरीत ऊ भेट्दा एकदम उत्साहित थियो र व्यापार–व्यवसायको भावी योजना सुनाइरहेको थियो । दिनभर दिदी–भाइ वर्तमानदेखि भविष्यका कतिपय योजनाबारे कुरा गर्दै बस्यौं । थुप्रै दुःख–सुखका कुरा भए । निकै लामो कुराकानी भो ।
सुरजलाई भेटेर फर्केपछि नराम्रो सपनाको ह्याङबाट अलि निस्केजस्तो भएकी थिएँ, किनकि उसलाई भेट्दा ऊ निकै उत्साहजनक मनस्थितिमा थियो । त्यसको तीन दिनपछि असोज १३ गते अचानक बिहान ९ बजेतिर आमाको फोन आयो, ‘तँ तुरुन्त मणिपाल हस्पिटल गइहाल् । सुरज ब्याडमिन्टन खेलेर फर्केपछि अचानक बेहोस भयो र बेहोस अवस्थामै मणिपाल हस्पिटल ल्याउँदै छ ।’ घाम लागिरहेकै थियो, तर यस्तो लाग्दै थियो– जताततै अँध्यारो छ, निस्पट्ट अँध्यारो ।
फोन आएको बीस, पच्चीस मिनेटमा उसलाई बोकेको गाडी आइपुग्यो । उसको कक्रकिएको चिसो शरीर र फुलेको पेट देखेर म अचानक् झस्किन पुगेँ । हतार–हतार उसलाई इमर्जेन्सीमा लगियो । फिल्ममा देखाइएको कुनै सिनजस्तो डाक्टरले उसको छातीमा डिफिब्रिलेटरले बारबार झड्का दिइरहे, तर उसको श्वास बन्द भइसकेको थियो । भित्र लगेको दस, पन्ध्र मिनेट नहुँदै डाक्टरहरूले सुरजलाई मृत घोषित गरिसकेका थिए ।
‘जसरी नि मेरो भाइलाई बचाइदिनुस्’ भन्दै म इमर्जेन्सीको डाक्टरसित मूर्च्छनामै रुँदै चिच्याइरहेकी थिएँ, तर डाक्टरले ‘अब केही हुन सक्दैन’ भनेर हात उठाइसकेका थिए । नमीठो संजोग, त्यो विश्व मुटु दिवसको दिन थियो । मुटु दिवसकै दिन मेरो ठूलो भाइको मुटु सधैंका लागि बन्द भइसकेको थियो ।
स्वास्थ्यको सन्दर्भमा यति सजग कि ऊ हरदिन बिहान डेढ, दुई घण्टा ब्याटमिन्टन खेल्थ्यो । तौल सधैं ठिक्कको । रक्सी एक, दुई महिनामा एकपटक मात्रै पिउँथ्यो । मासुको चाहिँ सोखिन थियो । भन्न त पछि उसका साथीहरूले भने– कहिलेकाहीँ छाती चस्केजस्तो भइरहेछ भन्थ्यो रे पछिल्लो चरणमा । केही समयअघि मात्रै अपरेसन गर्ने बेला सबै रिपोर्ट नर्मल आएकाले त्यस्तो गम्भीर केही होला भन्ने लागेन उसलाई पक्कै । त्यो कोरोनाकालको पिक समय हुनाले सकेसम्म अस्पताल नजाने भन्नेमै हुन्थे सबै । ‘ग्यास्ट्रिकले होला छाती पोलेको, कोरोना अलि मत्थर भएपछि हस्पिटल जाउँला,’ ऊ पनि सायद त्यही मानसिकतामा बस्यो र त्यहीँनेर धोका खायो ।
के हामी मृत्युलाई रोक्न सक्छौं ? अवश्य सक्दैनौं, तर केही समयका लागि पछाडि धकेल्नचाहिँ सक्छौं । कोरोनाकाल हुन्थेन भने सुरजको मृत्यु पनि पछाडि धकेलिन्थ्यो कि भन्नेचाहिँ लागिरहने सधैं । ३५, ३६ वर्षको भर्भराउँदो उमेर चटक्कै यो संसार छोडेर जाने उमेर पनि त थिएन । मेरी आमाको आमाको अर्थात् हजुरआमाको जुन उमेरमा अचानक बेहोस भएर मृत्यु भएको थियो, ठीक त्यसरी नै र त्यही उमेरमा मेरो भाइको मृत्यु भएको थियो ।
‘जेनेटिक कोलेस्ट्रेल खानपान र जीवनशैलीको कारणले मात्र नहुन सक्छ । कहिलेकाहीँ दस वर्षको बच्चामा पनि देखिन्छ यो रोग,’ पछि डाक्टरले यसै भने मलाई । जेनेटिक कोलेस्ट्रोलको कारण हृदयाघात भई भाइ गुमाएपछि आजकल म आफैं नियमित रूपमा कोलेस्ट्रोलको औषधि खाइरहेकी छु । मान्छेलाई असमयमै मृत्युको कल आएको कहाँ मन पर्छ र ?

कथाको अर्को मोड
अचानक्को सुरजको मृत्युपछि म त्यो म रहिनँ, जो पहिले थिएँ । मेरो दैनिकी त्यो रहेन, जो पहिले थियो । लेख्दा लेख्दैको मेरो उपन्यास अचानक रोकियो । डेढ वर्ष त हर दिन म पोखरा र तनहुँ गर्दै लगभग ५० किलोमिटर ड्राइभिङमै हुन्थेँ । बिजनेस सफ्टवेयर, इनभोइस, खरिद, बिक्री, नगद, उधारो–म सृजनाको प्लस माइनसबाट हिसाबको दुनियाँको प्लस माइनसमा पुगेकी थिएँ । उसले चलाइरहेको अटो मोबाइलको व्यवसायलाई लयमा जो ल्याउनु थियो । ऊ नहुँदा पनि उसैको सपनमा बाँच्नु जति प्रियकर थियो, उत्ति नै कठिन पनि ।
एक दिन कुरैकुरामा कोरियामा बस्ने एक जना पाठकले म्यासेन्जरमा सोध्नुभयो, ‘तपार्इंको लेखन के भइरहेको छ अचेल ?’ मैले आजकल म मेरो लागि होइन, भाइको सपना र मायाको लागि बाँचिरहेको बताएँ र लेखन स्थगित भएको सुनाएँ । साथसाथै अब लेखनमा कहिले फर्कन्छु वा फर्कन्न केही थाहा नभएको बताएँ ।
‘मानें कि तपाईं भाइलाई माया गर्नुहुन्छ र भाइका लागि बाँचिरहनुभएको छ । तर, तपार्इंलाई माया गर्ने तपाईंका थुप्रै पाठक पनि छन्, तिनको मायाको लागि चाहिँ तपाईंले केही गर्नुपर्दैन ?’, सोध्न त उनले केवल एक प्रश्न सोधे, तर उनले सोधेको प्रश्न मेरा लागि केवल प्रश्न थिएन । त्यो प्रश्न मेरो कथाको अर्को मोड जो थियो ।
तत्कालै कुनै जवाफ दिन आएन र उनको गहिरो कुरालाई हाँसेर टारिदिएँ । म्यासेन्जरमा कुरा टार्न स्माइलीको इमोजी पठाउन त सजिलो थियो, तर आफू आफैंसँग हाँस्न निकै कठिन । भाइप्रतिको माया र पारिवारिक दायित्व एक ठाउँमा, आफ्नो रहर र प्यासन अर्को ठाउँमा । मैलै ती माया गर्ने पाठकलाई त्यसपछि कहिल्यै भनिनँ कि तपाईंले सोधेको प्रश्नले मलाई अचानक कसरी बिथोलिदियो भनेर । कुनै दिन प्रत्यक्ष भेट भए अवश्य भन्नेछु ।
डेढ वर्षको अवधिमा अनेक पारिवारिक उतारचढावका बावजुद सानो भाइले आफ्नो दाइको स्थान र भूमिकामा आफूलाई खरोसँग उभ्याउन सक्छ भन्ने लागेपछि पारिवारिक रूपले ढुक्कको स्थितिमा पुगेँ । अब लेखनमा लाग्छु भनेर प्रत्यक्ष व्यापार, व्यवसाय हेर्न छोडेर बसेँ । छ महिना बित्यो, तर म मानसिक रूपमा लेख्न बस्नका लागि तयार हुनै सकिनँ । बीचमा एउटा, दुइटा लेख लेखेँ, तर ठोस लेखनमा फर्कनै सकिनँ । त्यो दौडान आफूले आफैंलाई कति सम्झाएँ, कति फकाएँ, कति ढाडस दिएँ, कति घुर्की लगाएँ, कति गाली गरेँ, कति मायाले सहलाएँ– आफैंलाई थाहा छ ।
अरूलाई फकाउनुभन्दा आफूले आफैंलाई फकाउनु कैयौं गुणा गाह्रो हुन्छ । अरूलाई ब्युँझाउनुभन्दा आफूले आफैंलाई ब्युँझाउनु एकदमै कठिन हुन्छ । आफैंभित्र निदाइरहेको लेखकलाई ब्युँझाउन आफूले गरेको अनवरत संघर्षले अन्ततः त्यो अटेरी लेखक ब्युँझन करै लाग्यो । असोज १ गते । सुरजको जन्मदिन । त्यही दिनलाई मैले आफ्नो दोस्रो उपन्यासको दोस्रो चरणको लेखनको दिनको रूपमा रोजेँ । कोरोनाकालमै पहिलो चरणमा उपन्यासको कथादेखि पात्रसम्म एकखाले गृहकार्य जो गरिसकेकी थिएँ ।
सुरज मेरो भाइ मात्रै थिएन, नजिकको साथी पनि थियो र सँगसँगै अभिभावक पनि । मेरा थुप्रै जन्मदिनहरू मलाई जन्मदिने आमाले भुल्थिन्, तर सुरज एक मात्र यस्तो भाइ थियो, जसले कहिल्यै मेरो जन्मदिन भुल्थेन र म जहाँ भए पनि जन्मदिनको शुभकामना दिन्थ्यो । सुरुमा त मलाई ऐंठन परेजस्तो भो । अक्षरहरू लेख्दा कहिले हिक्काहरू लेखिन्थे, कहिले उच्छवासहरू !
त्यही पलमा मनमनै प्रार्थना गरेँ– ‘कोही मरेपछि पितृ हुन्छ भन्छन् । तँ कहीँकतै कुनै न कुनै रूपमा छस् भने भाइ भए पनि तँ मेरो पितृ होस् अब । सुरज, मलाई त्यही पितृको आर्शीवाद दे ! मलाई तेरो प्रेरणा र साथको एकदम जरुरत छ ।’
मेरो प्रार्थना सुरजले सुन्यो कि सुनेन थाहा छैन, तर अन्तस्करणमा केहीचाहिँ अवश्य घटित भयो । मेरो लेखनले अचानक गति लियो । म आफैंले अनुमान गरेभन्दा दोब्बर गति । म पहिले सक्दिनथेँ, तर अहिले बिहानदेखि बेलुकासम्मै लगातार सोचिरहन र लेखिरहन सक्छु । लेखिरहेकी छु ।
असमयमै जब कसैले आफ्नो सबैभन्दा प्रिय मान्छे गुमाउँछ, ऊ पहिलेको जस्तो रहन सक्दैन । म पनि पहिलेजस्तो छैन ।

मृत्युको कला
जीव विज्ञान भन्छ– प्रत्येक जीवसित बाँच्ने नैसर्गिक प्रवृत्ति हुन्छ । प्रकतिले जीवहरूको बाँच्ने नैसर्गिक प्रवृत्तिको विसर्जन प्रक्रियालाई ‘मृत्यु’ को रूपमा उपस्थित गरेको छ । सिर्जन र विसर्जन प्रक्रियालाई वैज्ञानिकहरूले निरन्तर प्रक्रिया सिद्घ गरेर एउटा ब्रह्माण्डको मृत्युपछि अर्को ब्रह्माण्डको जन्म प्रक्रिया सुरु हुन्छ भन्न थालेका छन् । उच्च दार्शनिक र वैज्ञानिक प्रश्नहरूलाई थाती राखेर सामान्य मान्छेमा अनुभवमा पनि आउँछन्– जीवन र मृत्युका कुरा । एक बारको जिन्दगी, मरी जाने चोला हो, मरी लानु के छ– हामीले पाइलापाइलामा सुन्दै आएकै छौं ।
आजकल जता हेर्‍यो त्यतै आर्ट अफ लिभिङको चर्चा सुन्न पाइन्छ । आर्ट अफ लिभिङ सम्बन्धी सयौं किताब बजारमा उपलब्ध छन् । हिजोका विवेकानन्द हुन् वा परमहंस योगानन्द, अस्ति भर्खरै देहावसान भएका थिक नाट हान हुन् वा अहिलेका श्री श्री रविशंकर– सबैजसो आध्यात्मिक गुरुहरू जीवन जिउने कलाको विविध आयाममाथि बोलिरहेका हुन्छन् ।
डा. भगवान कोइरालाले ‘दिशानिर्देश’ कार्यक्रममा एउटा घतलाग्दो कुरा भनेका थिए, ‘चिकित्साको पढाइको क्रममा हामीलाई कहिल्यै मृत्युको बारेमा पढाइँदैन । एउटा अशक्त वृद्घ आएर अब म शान्तिपूर्वक मर्न चाहन्छु भनिरहेको हुन्छ । हामी डाक्टरहरूचाहिँ उसका सबै अंगप्रत्यंग खोतलखातल पारेर, दुःख दिएर भए पनि उसलाई बचाउने प्रयत्नमा भरमग्दुर प्रयास गर्छौं किनकि हामीलाई मान्छे कसरी बचाउने भनेर मात्रै सिकाइएको हुन्छ । कोही सुख र शान्तिपूर्वक मर्न चाहन्छ भने के गर्ने ? त्यो हामीलाई सिकाइएको हुँदैन ।’
हामी समस्त मान्छेहरूको बचाइ नै अधुरो छ किनकि हामी बाँच्नका लागि मात्रै तयारी गर्छौं, मर्नका लागि तयारी गर्दैनौं । त्यसो त मञ्जुलको ‘मृत्यु कविता’ होस् वा ओशोको ‘मैं मृत्यु सिखाता हुँ’ किन नहोस्, मैले धेरै पहिले पढेकी थिएँ । पढ्नु एउटा कुरा, मत्युस्मरण र मृत्युबोध गर्नु अर्को कुरा । बाँच्ने क्रममा आजकल हर दिन मृत्यु–स्मरण र मृत्यु–बोधको अभ्यास गरिरहेकी छु ।
मृत्युलाई बोधको तहमा भन्दा पनि हामी केवल सैद्घान्तिक रूपमा मात्र हेर्छौं । जन्मेपछि मर्नुपर्छ भन्ने सैद्घान्तिक ज्ञान त हामीसँग हुन्छ, तर जीवन सुन्दर बनाउन मृत्युको स्मरण कति महत्त्वपूर्ण छ भन्नेतिर हामी ध्यान नै दिँदैनौं । हामी त मृत्युलाई एक राक्षसका रूपमा हेर्छौ, जो नबोलाईकन टुप्लुक्क आउँछ र नसोधीकन क्वाप्प खान्छ । योगेश राज आफ्नो पुस्तक ‘सन्ध्या संरचना ः हिन्दू नेवारहरूको मत्युचेतना’ मा लेख्छन्, ‘जीवन–मृत्युको द्वित्वलाई सृष्टिको अनिवार्य पक्ष मान्ने कतिपय पौराणिक आख्यानमा मृत्युलाई पापमय ठानिएको छ । वैदिक साहित्यमा मृत्युलाई कुतत्त्व मानिएको छ ।’ मृत्युलाई कि त बेवास्ता गर्छौं । वास्ता गर्दा पनि पूर्वाग्रहको आँखाले हेर्न अभ्यस्त छौं हामी ।
घाटमा जाँदा जलिरहेको लास हेर्दा जीवनको क्षणभंगुरतालाई लिएर एकै छिन भावुक त जो कोही पनि हुन्छ, तर त्यो भावुकताको आयु यति छोटो हुन्छ कि फर्केर घर आउँदा नआउँदै ‘हामी पनि एक दिन मर्नुपर्छ’ भन्ने सत्य नै भुलिजान्छौं ।
‘आर्ट अफ डाइङ’ सम्बन्धी केही पुस्तकहरूमा एउटा साझा कुरा भेटेँ– ‘सेक्सजस्तै मृत्यु पनि मान्छेको जीवनका लागि एक मोटिभेटिङ फ्याक्टर हो ।’ धेरैको मनमा प्रश्न उठ्न सक्छ, सेक्सजस्तो रमाइलो, आनन्ददायक र रसपूर्ण विषयसँग मृत्युजस्तो कठोर, नीरस र रुक्खासुक्खा विषयको कसरी तुलना हुन सक्छ ?
यहाँनेर मनन गर्नुपर्ने विषय के हो भने मृत्युको स्मरणले जीवनलाई खुसियाली बनाउन ऊर्जाको काम गर्छ । जीवनमा मृत्यु हुन्थेन भने जीवनको महत्त्व हुने थिएन । जीवन बाँच्नुको कुनै अर्थ हुने थिएन । जीवन बाँचूँ–बाँचूँ लाग्ने खालको रहरलाग्दो र यति विघ्न मायालु हुने थिएन । यस्तो लाग्छ, मृत्यु क्वाप्प खान आउने भयानक राक्षस नभएर एक महागुरु हो, जसले हातमा छडी लिएर प्रत्येक क्षण हामीलाई ‘जीवन सार्थकतापूर्वक बाँच्नु’ भनी सिकाइरहेको छ ।
हाम्रै समाजमा हेर्‍यौं भने पनि जो क्यान्सर वा यस्तै प्राणघातक रोग वा कुनै दुर्घटनाबाट मृत्युको मुखमा पुगेर फर्केर आएका हुन्छन्, तिनको सोच र बाँच्ने शैली एकदमै सकारात्मक र ऊर्जामय पाउँछौं । अपवाद छोडेर तिनीहरू बाँकी जीवनको एक–एक पल स्वाद लिई लिई बाँच्छन् । कुण्ठा, अहम्, प्रतिस्पर्धाजस्ता विकारहरूलाई आफ्नो आसपास आउनै दिँदैनन् । मृत्युको चेतनाले जीवनको क्यानभास थप रंगीन हुन पुग्छ ।

डेथ क्याफेमा चिया पिउने कि ?
बुद्घले मध्यमा प्रतिपदको प्रतिपादन गरे र भने, ‘जीवनमा अतिवादी भएर होइन, मध्यममार्गी भएर बाँच्नुपर्छ ।’ मृत्युको सवालमा आममान्छे एकदमै अतिवादी देखिन्छ । कतिपय मान्छे मृत्युलाई यसरी नजरअन्दाज गरेर बाँच्छन् कि एक दिन मर्नुपर्छ भन्ने नै भुल्छन् र अनन्तः तृष्णा, महत्त्वाकांक्षा, लोभ र लालचको भुमरीमा फस्छन् । अर्काथरी मान्छेहरू मर्नुपर्छ भनेर यति भयभीत भएर बाँच्छन् कि ती बाँचिरहँदा पनि मरी नै रहेका हुन्छन् । कति नेक्रोफोबियाको सिकार हुन्छन्, कति थानाटोफोबियाको ।
मृत्युको भयले ग्रस्त बिरामीहरूलाई साइकोथेरापीको माध्यमबाट उपचार गरिन्छ । मृत्युको कारण हुने एन्जाइटी तथा डिप्रेसन हटाउन आजकल डेथ मेडिटेसन पनि प्रचलित छ । मृत्युको भय मनबाट निकाल्न मान्छेलाई ध्यानको माध्यमबाट आफू मरेको स्टेजमा पुर्‍याइन्छ र जीवनको क्षणभंगुरतासित साक्षात्कार गराइन्छ । बौद्घ परम्परामा मृत्युमाथि ध्यान उहिलेबाटै गरिँदै आएको छ । त्यसो त मृत्युको भय कति मानिसका लागि प्रेरणा बनेको छ, कतिका लागि त्रास । सिद्घार्थ गौतमको बुद्घ बन्ने यात्राको गर्तमा छ– मृत्यु । कवि, लेखकहरू किन अमर साहित्य रचना गर्न चाहन्छन् ? उत्तर खोज्दै जाँदा कतै न कतै मृत्यु–भयको गुफामा पुगिन्छ । भ्रूण अवस्थामै डीएनए सम्पादन गरेर रोगमुक्त बच्चा जन्माउने थालनी चीनमा भइसकेको छ । अहिलेका वैज्ञानिकहरू कृत्रिम मानव अंगहरू प्रत्यारोपण गरेर मानिसको आयु बढाउने र सके त अमरै बनाउने ध्याउन्नमा छन् । यो सबैका पछाडि पनि मृत्युलाई जित्ने उत्कट चाहना भेटिन्छ ।
वैज्ञानिकहरूका अनुसार, भूमध्यसागरमा पाइने एउटा जीव जेलिफिससित अमर हुन सक्ने शक्ति छ । आफ्नो शरीरका कोशिकाहरू आफ्नो इच्छाअनुसार फेरेर एउटा वृद्घावस्थाको जेलिफिस यौवन वा शैशवास्थामा जान सक्छ । जेलिफिसले जस्तै मानिसहरूले आफ्नो कोशिकामा परिवर्तन गरेर जीवनको नवीकरण गर्न सक्ने सूत्र वैज्ञानिकहरूले पत्ता नलगाउलान् भन्न सकिन्न । मृत्युमाथि शासन गर्न के साँच्चै सम्भव हुनेछ कुनै दिन ?
मृत्यु एक, तर प्रश्न हजार–हजार छन् यहाँ । ताजमहल प्रेमको स्मारक कि मृत्युको स्मारक ? इजिप्टका राजाहरूको उपत्यकामा अवस्थित समाधिहरू र गिर्जाका महान् पिरामिडहरू मृत्युका समयातीत इतिहास हुन्, तर तिनबाट हामीले ‘मत्यु’ लाई कति बोध गर्न सकेका छौं ?
नेपालमा पछिल्लोपटक धेरैको मुखबाट एउटा कुरा सुनिन्छ– भेटभाट होस्, तर भेट केवल घाटमा नहोस् । यो भनाइले मृत्युको अवसादपूर्वको उत्सवको माग गर्छ । जीवन जिउने कला सिक्न ‘आर्ट अफ लिभिङ’ को खोजमा मान्छेहरू जीवनभर भौंतारिइरहन्छन्, अनेक गुरुहरूका शरणमा जान्छन्, तर मान्छेले बिर्सन्छन् कि मान्छेको सबैभन्दा महान् गुरु उसले आफ्नो जन्मसँगै लिएर आएको हुन्छ, त्यो हो–
मत्यु । मृत्युको कला नसिकी जीवनको कला सिक्न सम्भवै छैन ।
आजकल युरोप, अमेरिका, अफ्रिकातिर द्रुततर गतिमा फैलिरहेको एउटा लोकप्रिय क्याफे छ, त्यो हो– ‘डेथ क्याफे’ । यो एक खाले सामाजिक फ्रेन्चाइज हो, जहाँ मान्छेहरू कुनै क्याफेमा भेट हुन्छन्, चियासँग केक खाँदै केवल मृत्युका विषयमा कुरा गर्छन् । मृत्युका विषयमा मात्रै कुरा गर्छन्, तर ती मान्छेहरू जीवनदेखि भागेका वा आत्महत्याको मनस्थितिमा पुगेर निराशाजनक कुरा गर्न जम्मा हुनेचाहिँ होइनन् ।
डेथ क्याफे ती मान्छेका लागि हो, जो जीवनमा मृत्युलाई एक डिस्कोर्सको रूपमा स्थापित गर्न चाहन्छन् । मृत्युलाई सहजै स्विकारेर हाँसीहाँसी एकदमै सहजताका साथ मृत्युका विविध आयाममाथि बहस–विमर्श गर्छन् । एसियामा पनि क्रमशः डेथ क्याफे लोकप्रिय हुँदै गइरहेको छ । हाम्रै छिमेकी मुलुक भारतमा ८ वटा र चीनमा ३३ वटा डेथ क्याफेहरू छन् । विश्वभरका ८२ देशमा लगभग १५ हजार वटा डेथ क्याफेहरू फैलिसकेका छन् । नेपालमा भने आजसम्म डेथ क्याफे भित्रिएको कुनै औपचारिक जानकारी आएको छैन । आशा छ, कुनै न कुनै दिन कसै न कसैले नेपालमा पनि डेथ क्याफेको होस्ट गर्नेछ र सोध्नेछ– डेथ क्याफेमा चिया पिउने कि ?
त्यतिबेला तपाईंको जवाफ के हुन्छ कुन्नि ! मेरो जवाफचाहिँ ‘हुन्छ आउनेछु’ हुनेछ, किनकि म जीवनलाई जति प्रेम गर्छु, मृत्युलाई पनि उत्तिकै प्रेम गर्छु ।

Page 10
कोसेली

दलनको एउटा दस्तावेज

- सरिता परियार

सार्की त सार्की नै हो, तर बोलेको चाहिँ कसले हो ?’ मुखिया बर्बराउँछन्, ‘सार्कीका फोहोरी ज्यानभित्र लुकेर सनातन धर्मविरोधी राई बोलिरहेछ ।’
समाज र साहित्यमा सार्कीले नै बोलेका हुन् कि सार्कीको मुखबाट राई सरहरूले बोलेका
हुन् ? खगेन्द्र संग्रौलाका फुटकर कथाको संगालो ‘संग्रामबहादुर सार्की’ मा सुन्न पाइन्छ । प्रत्येक कथाले ब्राह्मण के होइन, दलित के हो बुझ्न पसिना छुटाउँछ । जात बेस्सरी बुझेको भन्ठान्नेलाई पनि ऐंठन हुन्छ । कथाहरूमा देख्न पाइन्छ, कथित उपल्लो जात र अन्य जातका उठबस, लवाइ, खवाइ, बोलाइ, हिँडाइ, हेराइमा जात कति गढेको छ ? ब्राह्मण लोग्नेमानिसभित्र अजंगको जात–व्यवस्था देखिन्छ । जात भनेकै दलित, दलित भनेकै जात भन्ने बुझाइमाथि प्रश्न छ कथामा । जातव्यवस्था किन सामाजिक संरचना हो, पुँजीको असमान बाँडफाँट हो, असमान शक्ति सम्बन्ध हो ? यी कुरा बुझ्न यो कथासंग्रह एक आँखीझ्याल हो ।
यस कथासंग्रहमा पाँच दशकअघि प्रगतिशील ब्राह्मण लोग्नेमानिसको दृष्टिबाट दलित जीवनलाई बुझ्ने प्रयत्न भएको छ । संग्रौलाले पहाडे दलित, तिनमा पनि मिजार, विश्वकर्मा र परियार समुदायकेन्द्रित कथा लेखेका छन् । जातव्यवस्थाको भर्‍याङको माथिल्लो र तल्लो सिँढीबीच रहेको जटिल सामाजिक अन्तरसम्बन्धलाई केलाउन खोजेका छन् । ढुंगो–माटोझैं नठान्ने दलित जीवनबारे बिष्टको छोराले नेपाली साहित्यको विषयवस्तु ठाने । दलित जीवनलाई नेपाली साहित्यको विषयवस्तु बनाउनु कम जोखिमपूर्ण यत्न होइन । पाँच दशकअघि होइन, अहिले पनि दलित जीवनमाथि खरो कलम चलाउने ब्राह्मण लोग्नेमानिस खोज्न दिउँसै लाल्टिन बाल्नुपर्छ । हुन त यही कथासंग्रहलाई आधार मान्दा, कथा लेखनको तीन दशकको अन्तरालमा संग्रौलाकै हेराइमा, दलित जीवन र जातव्यवस्थाको बुझाइमा र अनेक चरणमा लेखिएका कथाहरूमा के फरक आयो, बहस गर्न सकिन्छ । कथाकारका रूपमा उनकै ‘इभोलुसन’ लाई पनि नियाल्न सकिन्छ ।
यी कथाहरूमा म समाजको अन्तरसंघर्षसँगै संग्रौलाको आत्मसंघर्ष पनि देख्छु । उनी जातले बाहुन विकासे सरलाई ‘सोमतले आँखामा हाले पनि नबिजाउने’ देख्छन्, दलित लोग्नेमानिसलाई भने चितुवा देख्छन् । लोग्नेमानिसका गुण–अवगुण चितुवाका जस्ता होलान् पनि । उनीहरूमध्ये कसैमा सोमत नभएकै हुन् वा भएर पनि नदेखिएको हो कि ? सम्मानजनक सम्बोधनमा पनि कथाकारबाट विभेद देखिन्छ । दलित महिलालाई ‘तँ’ सम्बोधन गरिएको छ । संग्रौलाको टिप्पणी छ, ‘म त ताप्लेजुङस्थित सुभाङको मुखियाको छोरो भएकाले संस्कारगत रूपमा, कथाको भाषा सम्बन्धमा कथामा त्यस्ता कुरा आउनु स्वाभाविक पनि हो ।’
संग्रौलाले आफू ‘पोलिटिकल्ली करेक्ट’ नभएको जनाउ दिँदै गर्दा मेरो ज्यान प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा थियो, ध्यान भने भेरीमा नवराज विकलगायत छ जना मारिएको मुद्दाको बहसमा थियो । इजलासमै न्यायाधीशले दलित वकिललाई सोधेका थिए, ‘डुमलाई डुम नभने के भन्ने, अरू कुनै शब्द छ भने सुझाउनुहोला ।’ आफ्नो मनको आफैं वकिल, आफैं न्यायाधीश । ‘डेभिल्स एडभोकेसी’ आफैंलाई सोधें, संग्रौला शैलीमा न्यायाधीशले पनि समाजमा चलिआएकै यथार्थलाई टिपेर भनेको हुँ, के विराम गरें भनेमा के होला ? मेरो दाइनेपट्टि उभिएर बोल्दै गरेका संग्रौला फिस्स हाँस्दै ठट्टाको भावमा भन्छन्, ‘यस विषयलाई कहिल्यै पनि गम्भीर रूपमा नलिएकाले मचाहिँ मिहिन संशोधनवादी, कम प्रगतिशील या पातलो प्रगतिशील भइरहेँ ।’ प्रगतिशीलहरूको भीडबीच ‘पोलिटिकल्ली करेक्ट’ हुन चाहिनँ भन्ने अभिव्यक्तिलाई कसरी
बुझ्ने होला ?
‘दलित परिवारहरूमा नै ठूलोले सानालाई गुको लिँड भनेको सुनें, त्यो खगेन्द्र संग्रौलाले भनेको होइन । समाज व्यवस्था र संस्कृतिले निर्माण गरेको सम्बन्धले पीडितमाथि आरोप गरेको संज्ञा हो त्यो । यति विघ्न आरोपित छ कि संस्कारगत रूपमा दलित आफैंले पनि त्यसलाई आन्तरिकीकरण गरिसकेको छ ।’ सामाजिक यथार्थलाई जस्ताको तस्तै टिप्ने गरेको संग्रौलाको टिप्पणी सुन्दा लेखकीय पृष्ठभूमि र साहित्यिक लेखनको सम्बन्धलाई कसरी हेर्ने होला, खसखस लाग्यो । यो उनले मात्रै होइन, आम लेखकले गरिरहेको संघर्ष हुन सक्छ । के लेखियो मात्रै होइन, कसले लेख्यो भन्ने प्रश्नलाई बेवास्ता गर्न सकिँदैन । इतिहासकार रोमिला थापर भन्छिन्, ‘इतिहास पढ्न पहिले इतिहासकारलाई पढ्नुपर्छ ।’ संग्रौलाका कथा नेपाली समाजको व्याकरण बुझ्ने साहित्यिक इतिहास नै हो ।
किताब विमोचनमा सहभागी दलित महिला लेखकको भनाइ सुनें, ‘एक मार्क्सवादी लेखकले कम्तीमा दलितको सम्मानित नाम त राख्न सकिन्थ्यो नि ? यसो सुन्नलायक नाम नै हुँदैन र ? प्रगतिशील लेखकबाट यति आशा गर्न सकिन्छ नि ।’ प्रगतिशील लेखन उत्पीडितहरूको आत्मसम्मानमा लागि पनि हो । आत्मसम्मान न्वारनदेखिका काम र जिउने अधिकारमा देखिन्छ । न्वारन गर्ने अधिकार पनि नभएका दलितको भागमा सिंगाने वा यस्तै नाम मात्रै किन हुन्छ ? कसले कसको नामकरण गर्न पाउँछ ? त्यसमा सम्मानभन्दा अपमान किन हुन्छ ? न्वारनको अधिकार सम्मान, आत्मसम्मान र सामूहिक सम्मानको लडाइँ हो । सिंगानेलाई संग्रामबहादुर सार्कीको रूपमा न्वारनको अधिकार शिक्षक शान्तकुमार राईलाई दिइएको छ । अब उत्पीडित आफैंले आफ्नो न्वारन गर्न राई सरहरूले सघाएका कथा लेख्ने कि ? यसरी राई र अन्य जातका अगुवाले सहकार्य गर्न सके मात्रै सामूहिक सम्मानको लडाइँ बलियो हुन्छ होला ।
कथाकारले निश्चित विषयवस्तु किन छान्छ ? कुन मनसायले कथावस्तु लेखिन्छ ? कुन समयमा कथा लेखिन्छ ? जस्तो पात्रहरू बनाइन्छ, त्यस्तो किन बनाइन्छ ? पात्रहरूबीचको शक्ति–सम्बन्ध कस्तो देखाइन्छ ? नाउँ, हाउभाउ, लुगाफाटा, खाना, टेक्ने लौरोबाट समेत कस्ता सन्देश प्रवाह गर्न खोजिन्छ ? यिनै प्रश्नको उत्तरमा कथाकारको पनि दृष्टिकोणको प्रतिविम्ब लुकेको हुन्छ । पाठकले पनि आफ्ना भोगाइ, अध्ययन र ज्ञानको जगमा उभिएर पढ्छन्, विश्लेषण गर्छन् । कुनै कथा पढ्दा सम्मानित अनुभूति गर्छन्, आँत दरो पार्छन्, कुनै कथाले चाहिँ आँत कमजोर पार्छन्, हातखुट्टा कोरोनाले जस्तै गलाउँछन् ।
लेखक सागर ‘बाइटिङ माइ टङ ः ह्वाट हिन्दी किप्स हिडन ?’ मा भन्छन्, ‘हिन्दी साहित्यले जातीय उत्पीडन र सामाजिक न्यायको मुद्दाबारे पनि बोल्छ भनेर सधैं सुनिने नाम हो प्रेमचन्द । उनका धेरै कथा स्कुले जीवनमा र पछि पनि पढें, तर कहिल्यै पनि ती कथाले सशक्तीकरण गरेनन् ।’ ‘उच्च’ जातका प्रगतिशील लेखक प्रेमचन्दको ‘कफन’ बारे उनी लेख्छन्, ‘दलित विचलनबारे लेखिएको कफनका नायक दुई जना गरिब चमार बाबुछोरा हुन्छन् । एक रात आफ्नो झोपडीबाहिर बाउछोरा पोलेको आलु खाँदै बस्छन्, भित्र बुहारीलाई व्यथा लागेको हुन्छ । एकाबिहानै ती महिला मर्छिन् । जमिनदारसँग सापटी मागेर दाहसंस्कार गर्न ल्याइएको पैसा जाँड खाएर भ्याइन्छ । प्रेमचन्दको भनाइ छ– यो त उनीहरूको प्रकृति नै हो । मेरो विचारमा यो कथाले पक्का दलितबारे रहेको बलियो जातवादी विचार प्रवाह गर्छ ः जँड्याहा, अक्षम, अल्छी अनि लोभीको रूपमा ।’ भारतको बिहार दलित बस्तीमा हुर्केका सागरले दलित दृष्टिकोणबाट प्रेमचन्दका कथा पढ्दा गरेको महसुसलाई अनदेखा गर्न मिल्दैन । कुन पात्र, कुन संवाद, कथाको अन्तर्यले पाठकलाई रन्थन्याउँछ वा गलाउँछ भन्ने कुरा अब पात्रसँग सम्बन्धित समुदायको नजरियाबाट हेर्ने हो कि ?
‘बाली बिग्रेको अर्को साल’ मा कैली र कालुराम दर्जी छोरो शिवरामलाई पढाउन कस्सिन्छ । आय्या र आत्थाको जिन्दगीमा दर्जी दम्पतीले बच्चो पढाउने धृष्टता गर्छ । जगन्नाथ मुखियाचाहिँ खिसीट्युरी गर्छन्, ‘भर भन्देखिलाई तेरो छोरो त पण्डित पो हुन लागेछ हँ ?’ ‘हुन्छ, किन नहुनु ?’ कैलीले भित्तामै पुग्ने गरी ओठे जवाफ दिइन्, ‘हाम्राले मात्तै सधैं अर्काका जुत्ताका तलुवा हुनु भन्ने के छ र ?’
यस संवादले २०७२ सालको आफ्नै स्मृतितिर डोर्‍यायो । कक्षा–कोठामा ब्राह्मण सरले जात पढाउँदै थिए, ‘दलित झिंगा हुन् नालीमा बस्न रुचाउँछन्, ब्राह्मण माहुरी हुन् मह निकाल्छन्, अमृत देउतालाई चढ्छ, कर्म अनुसारका जात हुन्छ ।’ संस्कृतभाषी पुरोहितहरूले चलाएको ज्ञान प्रणालीको पिरो धूवाँ हाम्रो कक्षाभरि पुत्पुतायो । अहिलेसम्म पोलेका आँखाले सोध्छन्, ब्राह्मणलाई माहुरी र श्रममै डुब्ने दलितलाई झिंगाको संज्ञा किन दिइन्छ ? सर र लेखकले प्रश्न कहिले गर्ने ?
कथासंग्रहमा ‘उच्च जात’ का धनीमानी पुरुषबाट हुने शोषण, अपमान, यौन शोषणसँगै दलितको आत्मसम्मान र प्रतिरोध पनि छ, यसको बलियो दसी ‘टापिचाउरे’ कथा हो । यसमा आफ्नो घरमा सस्तो श्रम बेच्दै आएका टापिचाउरेको आँखा छली भुसतिघ्रे साहुले माहिली सर्किनीलाई झम्टिन्छन् । बिराम गरेपछि टापिचाउरेलाई भुसतिघ्रे र तिनका आउरेबाउरले ललाइफकाइ गर्छन् । आफ्नो जातको फणा फैलाउँदै आउरेबाउरे सम्झाउँछन्, ‘हाम्रा कान्छो (भुसतिघ्रे) को पूजै गरे पनि तिमलाई पाप लाग्दैन बुझ्यौ ?’ टापिचाउरेको नाक र शिरको बडो चिन्ता गर्दै फेरि भन्छन्, ‘हामी भनेको तिम्रा प्रान हौं ।’ टापिचाउरेले नमानेसी ‘जोरी नखोज निभाइदिउला तेरो सास’ भन्छन् भुसतिघ्रे । टापिचाउरे सन्किन्छन्, ‘स्वास्नी बेचेर पैसा लिने ? साहुमहाजन बेचून् । पैसा चाहिएको तिनलाई पो
हो । गरिपै भए नि हामी पैसामा इज्जत बेच्ने होइनौं ।’
देउता भनाउँदा भुसतिघ्रे र टापिचाउरेको नाकबीच माइली सर्किनी हराउँछिन् । उनी आफ्नो बूढाले सास रहुन्जेल कुटाइ खाएसि मलिनो स्वरमा भन्छिन्, ‘आफू निर्धो छु भन्ने जान्दाजान्दै बलियासँग त्यसरी जोरी खोज्नुहुन्थ्यो त ?’ घरभित्र र बाहिरको स्वामीबीच चेप्टिएकी माहिली सर्किनीको धड्कन कसरी सुन्ने ? ब्राह्मण पितृसत्ताले त तिनैका दिदी, बहिनी, आमा, छोरी, बुहारीलाई चोखो देख्छ, तिनै छोरीबुहारीका इज्जत ढाक्न जति लुछे नि हुने त ‘छुत’ योनिका ‘अछुत’ महिलालाई नै ठान्छ । चोखा कहलिने महिलाको भूमिका कथाभित्र देखाइएको छैन । कथाबाहिर भने चोखा कहलिएका महिला जुठो बनाइएका महिला भइन्जेल इज्जतमा बस्ने विशेषाधिकार पाएका हुन्छन् । स्वास्नी जाबाको इज्जत ढाक्न नसक्नेको नाक के रहन्छ र भनेर खिसीट्युरी गर्छन् । ब्राह्मण पितृसत्ताकै घनचक्करमा परेको टापिचाउरेले पनि माहिलीलाई पेवा नै ठान्छन्, छुट्टै प्राणी ठान्दैनन् अनि बरबराउँछन्, ‘अर्कार्की स्वास्नीलाई हातपात गर्न पाइन्न !’
ब्राह्मण पितृसत्ताको घनचक्करमा छन् दलित लोग्नेमानिसहरू पनि । ‘धाइरिङकी दमिनी’ मा तिनका पिरलो दुरुस्त देखिन्छ । जुनेलीले दुई मुठी श्वास अलि सजिलो गरी फेर्न पाउँछु कि भनेर सन्ते दमाईसँग बिहे गर्छिन् । झन् एउटा चितुवाको खोरबाट अर्को चितुवाको खोर गएझैं हुन्छ ।
जुनेलीको श्वास पोइ, सासू, ससुरोलाई स्याहार्नुसँगै अरूको निमेक गर्नुमै जान्छ । आफैंले कमाई ल्याएको खान्की पनि पेटमा तातो नपारी निमेक गर्न हिँड्छिन् । यता दिनभरि तास खेलेर थाकेको बूढो चितुवा र तन्नेरी चितुवा घरमा बूढी कुट्न उतिखेरै तङ्ग्रिन्छन् । ब्राह्मण विकासे सरहरूको जोडबलमा यस्ता अन्याय सहन हुन्न भनेर गाउँलेहरू उठ्छन् । विकासे सर नआएका बेला सन्ते दमाईले बूढीलाई छिनाउन खुकुरी झिक्छन् । जुनेलीले हद भएपछि बन्चरो उठाएर फलाक्छिन्, ‘आइजो सन्ते, ज्यानको किर्नो बनार पाल्ने पोस्ने म, अनि तँ चाइने मलाई मार्न दागा धर्ने । ल आइजा, अति भो । आज त छैनस् कि मै छैन ।’
२०२७ सालदेखि २०५५ सालसम्ममा लेखिएका कथा पढ्दा देखिन्छ, ब्राह्मण पितृसत्ता र चोखो नारीवादविरुद्ध जुनेलीहरू विचारको बन्चरो लिएर संघर्षरत छन् । २०७९ सालमा बाचिरहँदा जातको प्रश्नलाई नयाँ ढंगले नसोच्ने र आलोचनात्मक तरिकाले नबुझ्ने छुट कुनै पनि जातलाई कसरी हुन्छ ? कथित उपल्लो जातभित्रको जातव्यवस्थाबारे कहिले विमर्श गर्ने ?

 

कोसेली

राधाको बेरंगी जिन्दगी

- रीना मोक्तान

 


फिल्ममा रंगले पनि कथा भनिरहेको हुन्छ । पात्रको मनोभाव, फिल्मको टोन (खुसी/दुःख) र दर्शकको मुड सिर्जना गर्न रंगले नजानिँदो भुमिका खेल्छ । युद्धका अधिकांश फिल्म डिस्याचुरेटेड (फुंग उडेको रंग) हुन्छ, जस्तो ‘अल क्वाइट इन्द द वेस्टर्न फ्रन्ट’ (२०२२) । ओस्कारमा यस वर्ष उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म जितेको यो फिल्मको रंग संयोजनले दर्शकलाई त्यतिबेलाको समयमा मात्रै पुर्‍याउँदैन, युद्धको टेक्सचर चखाइदिन्छ । फिल्ममा रंगको महत्त्व हेर्ने हो भने, ‘म्याट्रिक्स’ को हरियो रंग संयोजन र ‘सिन्डलर्स लिस्ट’ मा एक बालिकाले लगाएको रातो कोटको अर्थ बुझे हुन्छ ।
नेपाली फिल्ममा पनि रंगमार्फत कथा भन्ने प्रयास भएका छन् । सुवर्ण थापा निर्देशित ‘द सेक्रेट्स ‍अफ राधा’ को श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) भर्सन यही लहरमा पर्छ । खासमा यो फिल्म दुई भर्सनमा तयार भएको छ । कलर भर्सन गत भदौ १० मा प्रदर्शनमा आयो । ‍विडम्बना फिल्मको सोबारे विभेद भएपछि निर्देशक थापाले प्रदर्शनको केही दिनमै हलबाट फिल्म निकाल्नुपर्‍यो । त्यसयता पुनः प्रदर्शनको टुंगो लागेको छैन । फेस्टिभल लक्षित गरी बनाइएको श्यामश्वेत भर्सन भने हालै केही दर्शकबीच देखाइएको थियो । अब चर्चा गरौं, फिल्ममा प्रयोग श्यामश्वेत रंगबारे ।
फिल्मको कथा राधा (सृष्टि श्रेष्ठ) को हो । पति वासु (सौगात मल्ल) हराएको महिनौं भइसक्यो । पेसाले ड्राइभर पति विदेश पसे कि सहरमै छन् ? अत्तोपत्तो छैन । बिरामी सासूआमा, घरखेतको जिम्मेवारी दुई जीउकी राधाकै काँधमा परेको छ । हराएको पतिबारे अरूलाई थाहा नहोस् भन्ने चाहन्छिन् राधा । त्यसैले मिडियाका सुन्दर (खगेन्द्र लामिछाने) लाई वासु बनेर परिवार र आफन्तजनसँग बोल्न लगाइरहन्छिन् । जब सासूआमाको निधन हुन्छ तब राधाको त्यो झुठ गाउँलेले पक्रिन्छ । त्यसपछि वासुको खोजीमा उनी फुल्दै गएको पेट लिएर सहर पस्छिन् । राधाले बासुलाई भेट्टाउलिन् त ? त्यसपछि आउने ‘ट्वीस्ट एन्ड टर्न’ ले ‘द सेक्रेट्स अफ राधा’ मा दर्शकलाई बाँधिरहन्छ ।
राधाको पीडा र दुःख व्यक्त गर्ने रंग कस्तो होला ? राधाको जीवन बेरंगको छ । श्यामश्वेत रंग संयोजन नै त्यसको सशक्त स्वरूप हो । फिल्मको अधिकांश दृश्यमा उनी हाँसेकी छैनन् । तर, पर्खाइ, छटपटी र आसा उनको आँखामै झल्किन्छ । पतिको खोजीमा त्रिभुवन विमानस्थल पुग्दा होस् या प्रहरी चौकी, त्यही निन्याउरो/निरस अनुहार । राधा चर्को स्वरमा खासै रुँदिनन्, त्यही घुँक्कघुँक्कमै गहिरो पीडा झल्किएको छ । राधाको जीवनबाट उत्साह र उमंगको रंग उडेको छ । राधाको त्यही रंगहिन जीवन, पीडा र पर्खाईलाई जति श्यामश्वेत रंगले विम्बात्मक प्रस्तुत गरेको छ त्यति कलर भर्सनले गरेको थिएन । यसअघि कलर भर्सनमा रंग संयोजन स्याचुरेटेड भए पनि कथाको मर्म रंगिन दृश्यमा निस्प्राण देखिन्थ्यो । तर, श्यामश्वेत भर्सनमा भने रंगले नै कथामा प्राण भरिदिएको छ । फिल्मको एउटा दृश्यमा राधा खुलेर हाँसेको देखाइएको छ । उनको जीवनमा फर्किएको खुसी, उमंग र उल्लासलाई बुझाउन प्रयोग गरिएको रंगीन दृश्यले थुप्रै कुरा एकै दृश्यबाट बोलिदिन्छ । उक्त दृश्यलाई श्यामश्वेतबाट बिस्तारै रंगीन बन्दै गएको देखाउन सकिएको भए अझ बेजोडको अर्थ लाग्थ्यो । पर्दामा झट्ट रंगीन दृश्य आउँदा कथाको तादम्यमा पुग्न दर्शकलाई समय लाग्छ ।
हराएको पतिको खोजीमा एउटी महिलाले संघर्षका कस्ता आरोह–अवरोह छिचोल्छिन् ? राधाको कथामार्फत निर्देशक थापाले महिला सहनशीलता, समर्पण, लगनशीलता र पर्खाइलाई शसक्त ढंगले जोडेका छन् । दुःखको पहाड उक्लेर मुस्कुराउन खोज्ने महिलाको कथा हो– राधा । पितृसतात्मक समाजमा आत्मविश्वास र आत्मसम्मानसहित बाँच्ने महिलाका प्रतिनिधि हो– राधा । सुन्दरको सहयोगमा सहर पस्दा समाजले राधाको चरित्रलाई गलत देखाइदिन्छ । राधा भने निर्धक्क त्यही समाजमा फर्कन्छिन्, इलम गरेर बाँच्न । फिल्मको एक दृश्यमा राधा मसिने दाइ (बुद्धि तामाङ) सँग खेत खन्न सहयोग मागिरहेको हुन्छिन् । त्यसपछि मसिने अकमकाउँछन् । यत्तिकैमा राधा भन्छिन्, ‘खेत खन्न आउने भए भन्नुस् अहिल्यै, नत्र अरूलाई भन्नुपर्‍यो ।’ गर्भवती नभएकी भए त्यो काम राधा आफैं आँट्ने थिइन् । मलको भारी बोक्दै गर्दाको एक दृश्यले त झन् जीवनका ठूल्ठूला समस्यासँग लडेर बाँच्ने राधाहरूको कथालाई सरल भाषामा प्रस्तुत गरिदिए झैं लाग्छ ।
दुःखको कुरो, यस्तो सशक्त भर्सनलाई भने निर्देशक थापाले फिल्म महोत्सवमै लक्षित गरे अनि कलर भर्सन दर्शकका लागि छुट्याइदिए । फलस्वरूप दर्शकको भागमा पर्‍यो व्यावसायिक तत्त्वहरूले कमजोर बनेको ‘द सेक्रेट्स अफ राधा’ । दुई भर्सनमा केही दृश्य र फिल्मको अन्त्य (रिजोलुसन) फरक देखाइएको छ । कलर भर्सनमा राधाले बासुलाई भेटेको, बिमाको पैसामा मितज्युले आँखा गाडेको, गाउँको घर जलेको देखाइन्छ । तर, श्यामश्वेत भर्सनमा भने वासु र बिमाका कथा छाँटिएको छ । अनावश्यक लाग्ने गीत ‘पावैमा पाउजु’ हटाउँदा दर्शकलाई प्रमुख पात्रको भावमा बाँधिरहन सहयोग मिल्छ । कलर भर्सनका कति अनावश्यक दृश्य हटाउँदा पनि कथाले लय पक्रेको छ । कलर भर्सनमा फिल्मको कथा सक्न जबरजस्त ओपन इन्डिङ राखिएको देखिन्थ्यो । घर कसरी जल्यो भन्ने विश्वसनीय कारण नहुँदा राधाको आँसुमा दर्शक जोडिनै पाउँदैनथे । तर, श्यामश्वेतमा भने घर जलेको दृश्यलाई विश्वासिलो शैलीमा प्रस्तुत गरिएको छ । सुन्दरले सहजै राधालाई सहयोग गरेको विषयलाई पनि न्यायसंगत प्रस्तुत गरिएको छ ।
सिनेम्याटोग्राफर नरेन्द्र मैनालीले फिल्ममार्फत भन्न खोजीको विषयलाई दृश्य–भाषामा कैद गरिदिएका छन् । प्रत्येक दृश्यमा राधालाई विशेष महत्त्वका साथ खिचिएको छ । सुन्दरले फ्रेमभित्र पनि फ्रेम खोजेर दृश्यलाई खिचेका छन् । फिल्ममा वजनदार संवादहरूको चाङ छैन, बोलीचालीकै भाषा प्रयोग गरिएको छ । अधिकांश ठाउँमा दृश्य बोलेको छ । पार्श्व ध्वनिको प्रयोग भने केही ठाउँमा दर्शकको ध्यान भड्काइदिने किसिमका छन् । अन्य सहायक पात्रको चरित्रमा खासै ध्यान पुर्‍याइएको छैन ।
यसअघि महिलाकै कथामा ‘सुनगाभा’ निर्देशन गरेका थापाले यो फिल्मलाई पनि महिलाप्रधान बनाउन खोज्नु सकारात्मक पक्ष नै हो । तर, राधाको चरित्र–चित्रण हेर्ने हो भने फेरि यो कथामा पनि महिलालाई नै दुःखी देखाइएको छ । तर, अन्य व्यावसायिक फिल्ममा महिला चित्रणको दाँजोमा राधामा संवेदनशीलता अपनाइएको छ ।
वर्ष २०७९ लाई फर्केर हेर्ने हो भने केही फिल्ममा महिला संवेदनशीलतामाथि सुन्दर काम गरिएको छ । तीमध्ये, गएको वर्ष नेपालबाट ओस्कारका लागि सिफारिस गरिएको फिल्म हो –ऐना झ्यालको पुतली । फिल्मकी प्रमुख पात्र विद्याले गरिबीबीच पढ्न गरेको विद्रोह देखाइएको छ फिल्ममा । उनी स्वतन्त्र भएर उड्न चाहन्छिन्, कवितामार्फत आफ्ना भावना व्यक्त गरिरहन्छिन् । फिल्मभरि उनले पढ्नकै लागि गरेको विद्रोह देखाइएको छ । तर, पितृसत्तात्मक समाजमा उनको आवाज दबाइन्छ । कलिलो उमेरमै बिहे गर्न बाध्य पारिन्छ र पुतलीझैं उड्ने विद्याको सपना कवितामै सीमित हुन्छ । विद्रोही देखाउँदा–देखाउँदै पितृसत्ताले दबाएको देखाउनु पुरुष चिन्तनको परिणाम हो ।
स्वस्तिमा खड्का अभिनीत ‘चिसो मान्छे’ महिलाकै कथामा आधारित फिल्म हो । पतिको शव लिएर बाजुरा फर्कंदै गर्दा एक पत्नीले अनुभव गर्ने स्वतन्त्रता, सपना र प्रेमको कथामा आधारित छ– चिसो मान्छे । त्यही यात्रामा आफूलाई खोज्ने/भेट्टाउने एक सशक्त पात्रका रूपमा उनलाई चित्रण गरिएको छ । पतिको वैवाहिक बलात्कारको विषय उठाउन सक्छिन् उनी, सपनालाई गीतमा गुनगुनाउँछिन् र प्रेमका लागि खुला बन्छिन् । तर, त्यही पात्रको प्रेम आसक्ति र यौन चाहनालाई संवेदनशील भएर देखाउन चुकेका छन्, निर्देशक दीपेन्द्र के खनाल । तर, फिल्ममा महिला मनोविज्ञानलाई खनालले गम्भीर रूपले पस्केका छन् ।
अनुप बराल निर्देशित ‘दोख’ मा बलियो महिला चरित्र चित्रण छ । रुक्की (दिया मास्के) दुकान चलाएर जीवन चलाउँदै आएकी छन् । पतिको पर्खाइमा छन् । भविष्यका लागि वर्तमानका समस्या पछाडि छाडेर अगाडि बढ्ने विद्रोही महिलाका रूपमा उनी प्रस्तुत भएकी छन् । ‘पतिब्रता’ हुनुपर्ने मान्यतालाई भत्काएर खुसीका लागि गाउँ छोड्न तयार पात्रको रूपमा रुक्कीलाई देखिएकी छन् ।
गत वर्ष नै प्रदर्शनमा आएको ‘पानीफोटो’ मा हराएको छोराको खोजीमा एक आमाले गर्ने यात्राको कथा समेटिएको छ । फिल्ममा प्रेमिकाको भूमिकामा छिन्– मलिका महत । यो भूमिकालाई सन्तुलित ढंगमा लेखिएको छ । उनी प्रेमी आउला र बिहे गरौंला भन्ने पर्खाइमा छन् । बिहेको दबाबले गाउँ छाडेर भाग्छिन्, प्रेमीको तस्बिर साथमा लिएर ।
‘प्रकाश’ मा रेनु योगीले अन्तरजातिय प्रेम गर्ने हिम्मत त गरेकी छन्, तर उनको चरित्रलाई सामाजिक मूल्य मान्यताभित्रै खुम्चाइएको छ । गत वर्ष प्रदर्शनमा आएका केही आस गरिएका, गम्भीर फिल्मकर्मीका फिल्म हेर्दा तिनले महिलाका कथा देखाउने प्रयास गरेको देखिन्छ । तर, महिलाकै कथा देखाउन खोज्दा पनि पुरुष चिन्तन व्यक्त भएको छ ।
आशा गरौं, यस वर्ष र आगामी वर्षहरूमा फिल्ममा महिलाको चरित्र चित्रण सुधारिनेछ ।

Page 11
कोसेली

कथाजस्तै बाँचेर मरी झिम्कीकी आमा

- विमला तुम्खेवा

 

तिर्न नसक्नेले किन ऋण लिनुपर्‍यो ? माग्ने बेला मइन गरेर, खाने बेला चइन गरेर, तिर्ने बेला अइन खोज्ने ? आजको दिन नकटी मलाई मेरो सुन जस्ताको तस्तै चाहिन्छ ।’ यति भनेर झिम्कीकी आमाले देब्रे हातले छाती पिटी र निधारमा सोहोरिएको कपाल सम्याउँदै जुरो बनाई । बुढीऔंलासँगै उम्रिएको छैटौं औंलाले टाउको कन्याई र थचक्क फलैंचामा बसी । आँखामा आक्रोश थियो । अनुहारमा एक किसिमको तुफान । र, नीरस थियो आँखा ।
उसको असली नाम के हो ? कहाँ जन्मिएकी थिई ? स्थायी घर कहाँ हो ? उसको आमाको नाम के हो ? के उसको आफ्नै नाम छैन ? के उसको आफ्नै पहिचान छैन ? तर, जीवनको यो मोडसम्म आइपुग्दा चार छोरी जन्माई । झिम्की कान्छी छोरीको नाम हो । त्यसैले चोकमा सबैले उसलाई झिम्कीको आमा भनेरै चिन्छन् । श्रीमान् सुँगुरको पाठा व्यापारी । हुनुपर्ने सुन व्यापारी हो– खै के तुकबन्दी मिलेन र उसले पाठा व्यापार गर्न थाल्यो, उसैले जानोस् ।
झुरुप्प उभिएका स–साना छाप्राहरू । देब्रेतिर सडक किनारमा एक्लै उभिएको बरको रूख र सखुवाको फ्याकले बनेको पुरानो फलैंचासँगै टाँसिएको त्यो चियापसल । गर्मी होस् कि हिउँद, घाम र शीतल ताप्न बांगेचोकको मान्छेको सुख–दुःखको चौतारा हो– बरालको चियापसल ।
हो, आजको दिन यहाँ सधैंझैं छैन । झिम्कीकी आमा कराएपछि चोक शून्य छ ।
‘लगेपछि तिर्नु पर्दैन भाइ ?’ सन्तेको बाउतिर फर्किएर कराई झिम्कीकी आमा । छेउमै रेडियो सुनिरहेको सन्तेको बाउ बोल्यो, ‘दिने बेला हामीले देखेनौं ।’ सन्तेको बाउको कुरा सुनेपछि झिम्कीकी आमा अझै जोडले कराई । चोकमा एकैछिनमा हल्ला फैलियो । काइली फुपू, कुमारकी आमा, सिबु साइँला, योङहांगी कान्छी, सुरेन्द्र, चेक्छु कान्छा सबै भेला भए, तर बरालले पसलबाटै सुनिरह्यो ।
झिम्कीकी आमाको चर्को आवाज चिर्दै–चिर्दै हावा निकै परसम्म पुग्यो । तर, पजिनाकी आमाको मुटुको गति त्यो हावाभन्दा तेज धड्किरहेको थियो । गरिब हुनुको नियति कति दुःखान्त हुन्छ ? त्यो बुझ्न पजिनाकी आमाको विवशता बुझ्नुपर्छ । उमेरभन्दा पहिले चाउरिइसकेको उसको अनुहारको मुजाले स्पष्ट झल्को दिन्थ्यो– गरिब हुनु कत्ति गाह्रो छ ! साँच्चै अभावले मान्छेलाई लाज मर्नु बनाउँछ कि
सहनशील बनाउँछ ?
‘मेरो छाला काटेर लिए त हो दिदी, पर्ख न केही समय !’ यत्ति बोलेर ऊ चुपचाप फलैंचामा बसी । पजिनाकी आमाको जीवनमा दुःख पनि कति भने राई कान्छासँग मायामै परेर बिहे गरी । छोराछोरी जन्मिए, तिनको गु–मुत सोहोरेर ठूलो बनाई । रात–दिन नभनी दुःख गरिरही । उसको बैंस कतिखेर चिप्लियो, उसैलाई थाहा भएन । तर, अब अगाडिको उसको सारा जीवन संर्घषले भरिएको छ । उसलाई बिस्तारै आफ्नो दुःख सकिन्छ भन्ने ठूलो आड–भरोसा थियो, तर त्यस्तो भएन । झिम्कीकी आमा केही मत्थर भएझैं देखिई, तर उसको अनुहारमा रिस अझै देखिन्थ्यो । यो झगडा चैत–याममा जंगलमा आगो लागेझैं एकैछिनमा चोकभरि फैलियो ।
बरालको चियापसल रेडियो नेपालजस्तै हो, चोकका मान्छेहरूका लागि । बरालको आफ्नै विशेषता छ । कालो इस्टकोट र हाप जाँगे अनि अनुहारमा झुन्डिएको नाक । चिया खान, क्यारेमबोर्ड खेल्न नेता, सुंगुर व्यापारी, समाजसेवी सबै दिनमा एकपल्ट बरालको चिया पसल पुगेकै हुन्छन् । उसको किस्सा पनि मान्छेपिच्छे फरक । ऋण माग्दा जति पनि दिन्छ, तर ब्याज सौकडा दस छाड्दैन । चोकमा उसको बाँकी नखाएका मान्छे नै छैनन् । पछाडि घाँटीभन्दा अलि माथिसम्म तुर्लुंग झुन्डिएको टुप्पीले उसको व्यक्तित्वलाई खास देखाएको छ । रामे सुनारलाई बराल आफ्नो पसलमा चिया खान आउँदा राजा आएजस्तै स्वागत गर्छ, पैसाको तुजुक जो छ ।
छोरीहरूले साह्रै दुःखले बनाइदिएको त्यो मडवारी झिम्कीकी आमाका लागि खासमा खेलोफड्को थियो । अलिकता टोलछिमेकमा रवाफ थियो, समग्रमा उसको आत्मसम्मान थियो । तर, योपल्ट यस्तो भएन । मडवारी गएपछि फर्किएर आएन । सँगै उसका रहरहरू गए । उसको अनुहारको आभा हरायो, जसरी चैतमा रूखबाट पातहरू झरेर जान्छ र रूख नांगो हुन्छ । दुःखका परिदृश्यहरू निर्माण हुँदै गए । ऊ ओइलिएर झर्न लागेको बाबरी फूलझैं भई । त्यसो त झिम्कीकी आमा फलैंचामा बसेर कराएको यो दोस्रोपल्ट हो ।
लिम्बू कान्छा बांगो टोपी मिलाउँदै बोल्यो, ‘हाउ, पैसा र बैंस जतन गर्न जानेन भने गाह्रो पो हुन्छ त । तिर्न नसक्ने भएपछि ऋण नखानू । ऋण भनेको त घीन पो हो त ।’ यति बोलेर प्याच्च थुक्यो र फिस्स हाँस्यो ।
‘चोरेर खाएको होइन, एक दिन तिर्छु । छोराले खुट्टा टेकिदिएन र मेरो दुःख बढ्यो यति साह्रै बेइज्जत नगर न दिदी ।’
उसलाई कति–कति दुःखहरूले गिजोल्दा पनि यति दुःख लागेको थिएन ।
उहिले–उहिले बहुदल आउनुअघि यो बांगेचोक बिसाउनी थियो, बटुवाहरूको । अहिले बनेका घरहरूको ठाउँमा जंगल थियो । पछि हो बस्ती बसेको । सुरुका दिनहरूमा लहरै बाटोकिनारमा सेउलाले छाएका टहरा मात्रै थिए । चोकका मानिसहरूको एउटा विशेषता के हो भने गरिब छन्, तर परेको बेला छिमेकीलाई दिलो–ज्यानले सहयोग गर्छन् । अस्पताल जान नपाई कोही मर्दैनन् । बाझे, जुधे पनि परेका बेला एकअर्कालाई सहयोग गर्छन् ।
त्यसैले दुई वर्षअघि हिउँदको एक साँझ पजिनाकी आमाले झिम्कीकी आमालाई भनेकी थिई, ‘दिदी पन्ध्र दिनमा सौकडा दसको हिसाबसहित तपाईंको सुन जस्ताको तस्तै फर्काइदिन्छु । यो अड्को फुकाइदिनुपर्‍यो, लालीगुराँस सहकारीले गर्नसम्म गर्‍यो ।’ अलिकता वचन काट्न नसकेर, अलिकता ब्याजको लोभले अनि बाँकीचाहिँ रक्सीको सुरमा उसले थपक्क कानबाट खोलेर दिएकी हो मडवारी । तर, समयमा मडवारी फर्काउन सकिन । र, यस्तो दिन आइलाग्यो । त्यति मिल्ने छिमेकी अहिले गोमान र धामान भएका छन् ।
छोरीहरूले असाध्यै दुःख गरेर जम्मा गरेको पैसाले उसलाई यो मडवारी बनाइदिएका थिए । आज रिसको झोंकमा नाकैमा पजिनाकी आमालाई औंला लगेर घोचेपछि हातै हालाहालको अवस्था आयो ।
‘किस्ता तिर्न गाह्रो भयो भनेर थपक्क फुकालेर दिएको हुँ मैले,’ झिम्कीकी आमाको चर्किएको स्वर हावामा हरायो ।
बांगेचोकमा लालीगुँरास सहकारीले कतिलाई रुवायो, कतिलाई हँसायो ठेगान छैन, धेरैको हुँदाखाँदाको घरबार उजाड बनायो । सुरुवाती दिनहरूमा सहकारी आउँदा हरेक घरमा उल्लास नै थियो । भए खान पाइने नभए भोकै सुत्नुपर्ने नियति भोग्दै आएका यहाँका मानिसका निम्ति बिनाधितो तुरुन्तै ऋण पाइने भएपछि योभन्दा खुसीको कुरा अरू के हुन सक्थ्यो र ? तर, किस्ताले ल्याएको यो खुसी धेरै बेर टिक्न सकेन । बिस्तारै हरेक घरमा दुःखको आँधी ल्यायो । मान्छेको अनुहारबाट खुसी हराउँदै गयो ।
पजिनाकी आमाको घरसँगै जोडिएको पल्लो घरको सन्तुले चारतिर किस्ता लिएपछि वर्ष दिन भयो– ऋण तिर्न अरब भासिएको । सन्तुकी जहानले आफ्नै घरबाट यो सब हेरिरहेकी थिई ।
अघिदेखि सबै सुनेर सालको मुढामाथि बसिरहेको सुरेन्द्र बोल्यो, ‘नकराऊ है, माइजू दिने बेला दियौ !’
‘तँ मुलाको त के कुरा गर्नु र कि तैंले दिन्छस् मेरो मडवारी ?’
‘दिएर नै लगेको होला तिम्रो सुन, चोरेर लगेको होइन , निचोरे गुहु आउँछ काटे रगत ।’
झिम्कीकी आमा ऊतिरै फर्किएर कराई । ‘तँ नागाको त के कुरा !’
सुरेन्द्रको विषयमा भन्नुपर्दा उहिले कहिले चार नम्बर दिक्तेलबाट झरेको हो । यो चोकमा ऊ बसेको दशक बितिसक्यो । उबारे बुझ्नेहरूले भन्छन्– पहाडमा उसको छोरी र श्रीमती छ ।
सुरेन्द्र बम्क्यो, ‘आफ्नो त मुड्की सिरानी, करङ डन्लप, जिन्दगी जिन्दावाद ।’
झिम्कीकी आमाको रिस अझै मरेको थिएन । फतफताइरहेकी थिई । कम्मरबाट चुरोटको ठुटा निकालेर सल्काई । धूवाँले हावामा केही अमूर्त आकारहरू बनाएर विलीन भयो । साँझ झमक्क भइसकेको छ । तर, गर्मी महिना भएकाले पश्चिममा घाम डुब्नु र आकाशमा जून देखिनु एकैपल्ट भएको छ । प्रत्येक घरमा बलेको टुकीको उज्यालो बारको चेपबाट निस्कँदा भित्र के भइरहेछ, देख्न सकिन्छ ।
पजिनाकी आमाले यी रातहरूलाई अनिदो काटेको कति भयो ? उसलाई र यो अँध्यारो रातलाई थाहा छ । गरिबका निम्ति ऋण काल बनेर आउँछ भनेको त्यसै होइन रहेछ । ऋण सम्झिएरै जागै थिई । छेउकै खाटमा सुतिरहेको लोग्नेलाई हेरी र सोची, ‘यो लोग्ने भन्ने जात पनि बैंसकै साथी मात्र रहेछ ।’
बाहिर हुन्डरी थामिने छाँट छैन, भित्र मनको हुन्डरी । फरक यत्ति हो बाहिरको आँधी केही समयमा थामिनेछ, तर मनको आँधी कसोगरी थामिएला ? ‘यो मुर्दाङको सन्तानले मलाई धुरुक्क रुवाएर छोड्ने भो,’ मनमा यति कल्पेर ऊ फेरि कोल्टे फेरी । के मात्र गरिन उसले यो घरका लागि ? छोरा काम लागेन । गँजडिया भएर जेल पर्दा किस्ताकै ऋण काढेर, धरौटीमा छुटाएर उसैले हो ल्याएको । तर, छोरासँगै घरमा दुःख अझै बढेर आयो ।
भोलिपल्ट बिहान उठ्दा आठ बजिसकेको थियो । नौ बजे त साइटमै पुग्नुपर्छ । नत्र ठेकदारको गनगन सुनिसक्नुहुन्छ र ! निद्राले के छोडेको थियो, आँखाकै डिलमा आएर आँसु रोकियो– आफ्नो अवस्था सम्झिएर । भित्ताको काँटीमा झुन्डिरहेको झोला बोकी । एकफेर झिम्कीकी आमाको घरतर्फ हेरी र बाटो लागी ।
चित्रेको बाउ, घिसिङ बूढाबूढी र पजिनाको आमा चुपचाप हिँडिरहे । आज हँसीमजाक छैन, सन्नाटा मात्रै छ । दक्षिणतिर हुत्तिएका जबरजस्त बाटाहरू कति नीरस छ भने खन्ती, पास्नी, गाम्छा मिलिनियन बोटलमा भरेर बोकेको पानीको बोटलबाट निस्किएको आवाज मात्रै निकै पर–परसम्म सुनिन्छ ।
‘मेरो दुःख यो जुनीमा सकिँदैन, सासै फुत्केको दिन मात्रै मुक्ति पाउँछु है मैले,’ पजिनाकी आमा बाटोमा यति बोली ।
कानमा सिउरिएको देउराली चुरोट झिक्दै चित्रेको बाउ बोल्यो, ‘भनेको भाकामा तिर्न सकिँदैन, गरिब मुलाको त इमान पनि बेइमान हुन्छ हाउ, बैनी ।’
घिसिङनी झर्केर बोली, ‘छ्या, अलिक उता खाऊ न सुर्तीको धूवाँले मेरो टाउको दुख्छ !’
‘कसले छेउछेउ आऊ भनेको छ त, यत्रो फराकिलो बाटामा !’ जंगियो चित्रेको बाउ ।
‘हन के साह्रो सन्केको, यो दाजु !’
हाँस्दै चित्रेको बाउ बोल्यो, ‘कुरै त्यस्तो गर्छौ त !’
‘हाउ, पैसा र बैंस जतन गर्न जानेन भने गाह्रो पो हुन्छ त । तिर्न नसक्नेले ऋण नखानु ऋण भनेको त घीन पो हो त,’ यति बोलेर प्याच्च थुक्यो र फिस्स हाँस्यो घिसिङ बूढा ।
त्यसपछि दिल खोलेर हाँसेको हाँसोको गुन्जन यसरी हावामा गुन्जियो कि छेउका झाडीहरूमा बसिरहेका भँगेराहरू अत्तालिँदै उडेर गए ।
बिस्तारै बर्खा सुरु भयो । अझै पजिनाकी आमाले ऋण तिर्न सकिएको थिएन । सहकारीकै कारण घरमा बास थिएन । यही पीरले ऊ भित्रभित्रै मरिरहेकी थिई । चोकभरि नै सहकारीका कारण आतंकित थिए मान्छेहरू । पहिलाजस्तो थिएन, केही हराएजस्तो केही भएजस्तो, सहकारीकै कारण चोक आतंकित थियो । अचानक चोकमा झिम्कीकी आमा चर्को कराउनु, चोकवासीहरू चुपचाप सुनेको नसुनेझैं गर्नु अब स्वभाव भइसक्यो, जसरी सुरेन्द्र यही चौतारामा रातदिन बस्छ र रात–दिन कराइरहन्छ । यसरी उदास कहिल्यै थिएनन् यहाँका मानिसहरू । जे भइरहेको थियो लालीगुराँस सहकारीकै कारण भएको थियो । नत्र त बांगेचोकका मान्छे गरिब थिए, तर यति दुःखी र उदास कहिल्यै थिएनन् । ज्याला, मजदुरी गरेरै भए पनि छाकैपिच्छे मासु–भातै खान्थे र हाँसीखुसी थिए ।
धेरै महिनापछि फेरि आज के भयो कुन्नि ! एकफेर खकारैसरि थुकिराखेर पजिनाकी आमाको घरतिर हेरिपठाई झिम्कीकी आमाले । तर, अनुहारमा पहिलाजस्तो रिस थिएन । अम्बाको बोटमा चिचिला लाग्दै थियो । बाहिर आँगनमा जुठा भाँडा त्यसै लडिरहेका थिए । उसको रहरलाग्दो जिन्दगीलाई अलिकता रक्सीले अलिकता सुर्तीले अलिकता घरका मान्छेहरूको गनगनले र बाँकी मडवारीले भत्काई राखेर गयो, जसलाई अब सायद उसले कहिल्यै सम्याउन सक्दिन । उसको अनुहारमा कुनै आकांक्षा छैन । ऊ निकै कमजोर भइसकेकी थिई ।
करिब एक महिनापछि बिहानै झिसमिसेमा हल्ला चल्यो– झिम्कीकी आमा बिती । उसले आफ्ना सारा रिस र दुःखलाई स्मृतिमा छाडेर गई । ऊ अहिले सेतो कात्रोमा आँगनमा चुपचाप निदाइरहेकी थिई । फेरि सुनका मडवारी लगाउने रहर त्यसै रह्यो । छेउमा बसेर लोग्नेले उसको निधार सुम्सुम्याइरहेको थियो । लोग्नेको आँखाबाट झरेको आँसुले झिम्कीकी आमाको अनुहार पूरै भिजिसकेको थियो ।
बांगेचोक आज सुनसान छ । अब चोकमा पहिलाझैं कोही कराउने छैन । रातको अँध्यारोलाई चिर्दै पूर्वेली भाकामा कसैको लोकदोहोरी गीत सुनिनेछैन । जबसम्म ऊ जिउँदै थिई, चोक पनि रमाइलो थियो । आकाशमा धर्तीमै झरुँलाझैं फैलिएको सेतो बादल र जूनको उज्यालो कति रमाइलो लाग्थ्यो भने राति जूनको उज्यालोमा झुरुप्प बसेर गफ गरिएका ती पल अब सम्झनामा मात्रै रहे । पछिल्ला दिनमा झगडा गर्ने दुवैले सबै कुरा बिर्सिसकेका थिए । तर, मान्छेको जीवन घटनैघटनाहरूको परिघटना रहेछ । मर्ने त मरेर गइहाल्यो, तर पजिनाकी आमा आज पनि दुःख, अभाव र अपमानहरूबीच बाँचिरहेकी छे, यही चोकमा । गहिरो पीडाले ऊ बल्झिरहन्छे सधैं–सधैं । उसका सपनाहरू यो जीवनमा पूरा हुन्छ कि हुँदैन ? थाहा छैन, तर दुःख, अभाव र अपमानहरूले ऊ अझै जब्बर भएकी छे । झिम्कीकी आमा अब त चिहानमा माटो भइसकी, तर चौताराको पीपलबोटमा फेरि नयाँ मुनाहरू पलाएका छन् । त्यो लालीगुँरास सहकारीको बिल्डिङ चोकमा ठिंग उभिएकै छ ।

कोसेली

हीर दुःखान्त

- भुवन ढुंगाना

 

लेखक तेहमिना दुर्रानीको उपन्यास ‘ब्ल्यासफेमी’ अनुवाद गर्दाको कथा हो यो । किताबमा लेखिएका अकल्पनीय घटना पढिरहँदा मलाई मानसिक तनाव भयो । र, कतिपटक अनुवाद नगरौं–नगरौं लागिरह्यो । किताब आद्योपान्त पढिसकेपछि म निकै स्तब्ध भएकी थिएँ । मेरा जीउमा काँडा उम्रिएका थिए । फेरि सोचें, मुस्लिम महिला हिंसाविरुद्ध लेखिएको यो किताब नेपाली समाजका दिदीबहिनी, अभियन्ता, मानवअधिकारवादी र शासक सबैले पढ्नुपर्छ । अनि अनुवादमा जुटेँ ।
‘ब्ल्यासफेमी’ लाई नेपालीमा ‘ईश्वरनिन्दा’ शीर्षक राखें र अनूदित पुस्तक बुझाएँ । र, साहित्य गुठीबाट त्यो किताब २०६१ मा प्रकाशित भयो । दक्षिण पाकिस्तानको सामाजिक, राजनितिक पृष्ठभूमिमा लेखिएको त्यो सत्य–कथाले अनुप्राणित उपन्यास धार्मिक गुरुको ब्यभिचारी कर्ममाथिको एक दस्तावेज हो । उपन्यास सत्यकथामा आधारित हो । जुन महिलाको कथा हो किताब, उसको पहिचान व्यक्त हुन नदिने अभिप्रायले किताबमा नाम र घटनाक्रम परिवर्तन गरिएको छ ।
यो साठीको दशकतिरको कुरा हो । साहित्य गुठी र द टोयोटा फाउन्डेसन, जापानको संयुक्त अनुवाद प्रकाशन परियोजनाको आर्थिक सहयोगबाट प्रकाशित गरिने पुस्तकका सन्दर्भमा पाकिस्तानी महिला लेखिकाका दुई पुस्तक चयन गरिएको थियो । एउटा थियो पाकिस्तानी महिला लेखिकाको प्रतिनिधि–कथासंग्रह (सो द्याट यु नो मी) र दोस्रो तेहमिना दुर्रानीको विवादास्पद उपन्यास– ब्ल्यासफेमी । ती दुवै पुस्तकलाई अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्ने अभिभारा गुठीका सञ्चालक समितिका तर्फबाट मलाइ दिइएको थियो । पहिलो पुस्तकमा सत्र पाकिस्तानी महिला कथाकारका एक–एक कथा थिए । छनोटमा परेका कथाहरू विश्वसाहित्यसँग प्रतिस्पर्धा गर्ने खालका थिए । त्यो पुस्तक मैले तोकेको समयावधिभन्दा छिट्टै अनुवाद गरेर संस्थालाई बुझाए । तर, दुर्रानीको ‘ब्ल्सासफेमी’ (ईश्वरनिन्दा) अनुवाद गर्न मलाई एक महिनाभन्दा बढी समय लागेको थियो ।
ल ल ल
‘ईश्वरनिन्दा’ मा के छ ? प्रभावशाली गद्यशैलीमा लिपिबद्ध यस उपन्यासमा दुर्रानीले सुन्दरी युवती हीरको दुःखान्त कथा लेखेकी छन् । आर्थिक दुरवस्थाले उनको पन्ध्र वर्षमै वयस्क पिर साई (मस्जिदमा बस्ने धर्मगुरु) सँग विवाह हुन्छ । ‘ईश्वरको मान्छे’ भनिने पिर साईको पशुवत् व्यवहारले आजित भए पनि बाध्यतावश त्यही हवेलीमा दिन–रात अल्लाह (ईश्वर) का नाममा भइरहने यौनशोषण, निमुखा केटीहरूको बलात्कार, अनैतिक क्रियाकलाप हेरेर बस्न बाध्य छिन् हीर । त्यसविरुद्ध बोल्न खोजे हीरलाई दिइने शारीरिक–मानसिक यन्त्रणा कहालीलाग्दो छ । तेह्र अध्यायमा विभाजित उपन्यासमा पहिलो अध्याय छ– ‘मुक्ति’ । त्यसको अर्थ पिर साईको मृत्युपश्चात् मात्रै हीरलाई मुक्ति मिलेको संकेत दिइन्छ । उपन्यासमा कथाभित्र पनि अरू धेरै स–साना कथा छन् । मुस्लिम समाजमा विद्यमान जादु, टुना, तन्त्रमन्त्र र सुराकीहरूको क्रियाकलापले किताबको कथा निकै रहस्यमय र रोचक भएको छ । पौराणिक गाथा हीर र राजाको सम्बन्धजस्तै झिनो, तर मर्मस्पर्शी प्रेमको सम्बन्ध हीरको जीवनमा पनि देखाउन खोजिएको छ, तर त्यो असफल प्रेमको रूपमा आएको छ । पिरको मृत्युपछि छोरा राजाजीको यन्त्रणामा रहनुपर्ने बाध्यता छ हीरलाई । यस्तै परम्परा हाम्रो नेपाली समाजमा पनि कायमै छ ।
सामाजिक, राजनीतिक संस्कारको परिवेशमा लेखिएको यो उपन्यास एक्काइसौं शताब्दीको मानव समाजमा (खासगरी मुस्लिम समाजमा) महिलामाथि हुने हिंसा, व्यभिचार, बलात्कार आदि स्वार्थपरक विषय हेर्ने आँखिझ्याल हो । यस विषयमाथि अध्ययन, अनुसन्धान गर्नेहरूका लागि यो एक महत्त्वपूर्ण ग्रन्थ हुन सक्छ । उपन्यासलाई नारीवादी लेखनको एक सशक्त र जिउँदो साहित्यिक कृति मान्न सकिन्छ । किताबलाई अनुभवन्यास पनि भन्न सकिन्छ । हीरको अनुभव, जसले उपन्यासको रूप लियो– पर्दा र बुर्काभित्रको संसार हेर्न, बुझ्न उपन्यास बेजोड छ ।
ल ल ल
को हुन् तेहमिना दुर्रानी ? पाकिस्तानी विवादास्पद लेखक तेहमिना दुर्रानीको (फेब्रुअरी १०, सन् १९५३) जन्म एक सम्भ्रान्त परिवारमा कराँचीमा भएको थियो । सत्र वर्षकै उमेरमा उनको विवाह अनिश खानसँग भयो । तर, केही वर्षमै त्यो विवाह पारपाचुकेमा परिणत भयो । उनको दोस्रो विवाह राजनीतिज्ञ, पन्जाबका मुख्यमन्त्री गुलाम मुस्तफा खेरसँग भए पनि चौध वर्षको वैवाहिक जीवनपछि त्यो विवाह अन्त्य भयो र पारपाचुकेमै टुंगियो । ‘माई फ्युडल लर्ड’ (सन् १९९१) दुर्रानीको निकै चर्चित र विवादास्पद किताब हो । यो किताबमा उनले खेरसँगको आफ्नो दाम्पत्य जीवनको सम्बन्ध र खेरको सामन्तवादी चरित्रको आलोचना गरेकी छन् । इस्लाम धर्ममा आएको विकृति, महिला र समाजले मूकदर्शक भएर त्यसलाई हेरिरहेको, सहिरहेको आरोप पनि लगाएकी छन् । उनले राज्यको भ्रष्टाचार र पुरुष शोषणविरुद्ध भोक हडताल र जुलुस प्रदर्शन गरिन् । र, महिला, केटाकेटीको हक अधिकारका लागि लडिन् । वैवाहिक जीवनभित्रको विसंगतिविरुद्ध संघर्ष गरिरहिन् । पारपाचुकेपछि पाकिस्तानका नामूद मानवतावादी अब्दुल सतार इदीको संस्थामा आबद्ध रहिन्, सर्वसाधारणको हित–अधिकारका लागि काम गरिन् । इदीको जीवनमा आधारित दुर्रानीको ‘एमिरर टु द ब्लाइन्ड’
(सन् १९९६) किताब इदी फाउन्डेसनबाट छापिएपछि उनी चर्चामा आइन् । दुर्रानीको पहिलो आत्मवृत्तान्त ‘माई
फ्युडल लर्ड’ (सन् १९९१), दोस्रो उपन्यास ‘ब्ल्यासफेमी’ (सन् १९९९) र तेस्रो इदिको आत्मकथा ‘एमिरर टु द ब्लाइन्ड’ (सन् १९९६) धेरै भाषामा अनूदित भए र ती सधैं चर्चामै
छन् । तेहमिना एक सफल चित्रकार पनि हुन् । त्यसैले उनको उपन्यास ‘ईश्वरनिन्दा’ चित्रैचित्रले भरिएझैं लाग्छ ।
ल ल ल
अनुवाद असाध्यै कठिन काम हो । मौलिक कृतिको मर्म र विचार सम्प्रेषण गर्न नसके त्यो अनुवाद रसविहीन, अर्थहीन हुन्छ । ‘ब्ल्यासफेमी’ अनुवाद गर्दा त्यो पाकिस्तानी समाज, परिवेश, रीतिथिति, संस्कार सबै नौलो थियो मेरा लागि । ती सबैलाई आत्मसात् गर्दै, आश्चर्यचकित हुँदै अनुवाद गर्नुपर्ने अवस्था थियो त्यो । उर्दू भाषामा प्रयोग गरिएका विशेष शब्दलाई अग्रेजीमा पनि त्यही लेखिएको थियो । मैले नेपालीमा त्यही शब्द राखेँ । प्रसंगबाट पनि ती शब्दको अर्थ खोल्ने प्रयास गरेँ । मुस्लिम समाजमा एक अबला नारीले भोग्नुपरेका पीडा, दुःख र आतंकका कथा पढेर मर्माहत भएँ । मनमा बारम्बार प्रश्न उठिरह्यो– यस्तो घटना पनि घट्न सक्छ ? यस्तो सम्भव हुन्छ ? तर, हुँदोरहेछ । अहिले आफ्नै मुलुकमा त्यस्तै जघन्य अपराधका विषय छापामा पढिने, सुनिने गरिन्छ । यद्यपि हामी लेखकले त्यस्तो चित्रण र महिलाको अन्तरंगी कथा धेरै लेख्नै सकेका छैनौं । अनि दुर्रानीको ‘बोल्ड राइटिङ’ को प्रशंसा गर्न मन लाग्छ ।
‘ईश्वरनिन्दा’ जति रोमाञ्चकारी छ, उति नै दुर्रानीको जीवनमा पनि धेरै उतारचढाव, आरोहअवरोह आएको छ । उनी आफ्नो उद्देश्यमा, समाज–महिलामाथि हुने भेद्भाव, हिंसाविरुद्ध सधैं कटिबद्ध छिन् । दुर्रानीले तेस्रोपटक (सन् २००३) हालका पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफसँग विवाह गरेकी छन् । उनको बसोबास लाहोरमा छ । सेहवाज सरिफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । अहिले पाकिस्तानकी प्रथम महिला दुर्रानीको आगामी साहित्यिक–कृति कस्तो, कुन रूपमा आउने हो ? हेर्नै बाँकी छ ।

Page 12
कोसेली

'साम्सोघा मुन्धुममा छ– जिउँदा मान्छे र आत्माको वार्ता’

- कान्तिपुर संवाददाता

 


नियमित गायन र साधना, पार्श्व गायन, स्टेज कार्यक्रमको व्यस्तताबीच गायिका झुमा लिम्बूको अर्को मूल परिचय पनि छ– लोपोन्मुख सांस्कृतिक परम्परा, बाजागाजा, संगीतमाथिको खोज अनुसन्धान र त्यसको संरक्षणको प्रयास । अहिलेका स्रोताका लागि उपलब्ध हुने किसिमले परम्परागत नेपाली बाजागाजाको संरक्षण र पुनर्जागरणका लागि समूह नै बनाएर निरन्तर खट्दै आएकी छन् । कोभिड–१९ प्रकोपको सुरुवातमा पूर्वी नेपालको एक गाउँमा ४ महिना बसेर उनले खमारीको काठ, गोरुको छाला प्रयोग गरी ढेला नामक मौलिक बाजासहित ८ थरी र कुल २३ वटा बाजा बनाएकी थिइन् । शास्त्रीय–पाश्चात्य संगीतका विभिन्न शैली र विधामा तालिमप्राप्त झुमाले हालै मुन्धुमसम्बन्धी म्युजिकल डकुमेन्ट्री ‘साम्सोघा मुन्धुम’ निकालेकी छन् । साम्सोघा मुन्धुम र यसभित्रका सांस्कृतिक कथाबारे वृत्तचित्र सार्वजनिक भएको सेरोफेरोमा हामीले उनको संगीत, व्यावसायिक जीवन, चुनौती र आगामी योजनाबारे केही प्रश्न गरेका थियौं । प्रस्तुत छ झुमा लिम्बूसँग सजना बरालको कुराकानी ः

तपाईंले भर्खरै साम्सोघा मुन्धुमसम्बन्धी म्युजिकल डकुमेन्ट्री सार्वजनिक गर्नुभयो । साम्सोघा मुन्धुम त तपाईंले सन् २०१३ मै रिलिज गर्नुभएको थियो । फेरि किन दोहोर्‍याएर गाउनुभएको ? पहिलेको साम्सोघा र यसमा फरक के छ ?
सन् २०१३ मा साउन्ड स्कोरिङ गर्ने मान्छे नै नभएर साम्सोघा मुन्धुम कच्चा भर्सनमा रिलिज गरिएको थियो । पछि सन् २०१८ मा लन्डन गएर मैले उतै साउन्ड स्कोरिङ गराएँ । त्यहाँ म्युजिकोलजिका तगडा मान्छेहरू भएकाले भनेजस्तो साउन्ड बनाइदिए । अहिले युट्युबमा भएको ‘साम्सोघा मुन्धुम’ लन्डनमा साउन्ड स्कोरिङ गरिएपछिको भर्सन हो ।
यसपालि त्यही साम्सोघा मुन्धुमको अर्को भर्सन निकालिएको हो । यसमा धेरै नयाँ प्रयोग गरिएको छ । महत्त्वपूर्ण कुराचाहिँ यसलाई हामीले आउटडोरमा लाइभ रेकर्ड गर्‍यौं । स्टुडियोका उपकरण बाहिर लगेर अन द स्पट रेकर्ड गरिएको हो । यसको अरेन्जमेन्टमा पनि केही परिमार्जन गरिएको छ । पश्चिमा क्वायर मिसाएर फ्युजन गरिएको छ ।
साम्सोघा मुन्धुम भनेको चाहिँ के हो ? यसभित्र कस्तो संगीत छ ? हामीले सुन्दै आएको मुन्धुम र यसको भिन्नता के हो ? लाइभ रेकर्ड नै किन गर्नुभएको ?
साम्सोघा मुन्धुम तङसिङ मुन्धुमबाट निकालिएको एक भाग हो । तङसिङ भनेको लिम्बूहरूको सबैभन्दा ठूलो अनुष्ठान हो । साम्सोघा मुन्धुममा जिउँदा मान्छे र मान्छेबाट छुटेर गएका आत्माहरूबीचको वार्ता समेटिएको हुन्छ । मैले साम्सोघा मुन्धुमको एक टुक्रा मात्रै गाएकी छु । अकालमा मृत्यु हुनेहरूको आत्मा एक ठाउँमा बस्छ र कालगतिमा जानेहरूको आत्मा अर्को ठाउँमा भन्ने विश्वास गरिन्छ । अकालमा जानेहरूको आत्मा तृप्त हुँदैन । तसर्थ उनीहरू फर्केर आइरहन्छन् । उनीहरू आइराख्नु भनेको हामीलाई दुःख हुनु हो । साम्सोघा मुन्धुममा उनीहरूलाई ‘अब तिमी फर्केर नआउनू है, आफ्नै ठाउँमा बस्नू, उहिले श्रृष्टि हुनुभन्दा अघिको, कहिल्यै घाम र जुन नलाग्ने ठाउँमा जाऊ’ भनेर येबा/साम्बाहरू फलाक्ने गर्छन् ।
यो मुन्धुम आज राति सुरु गरेर भोलिपल्ट दिउँसोसम्म गाइन्छ । हामीले नमुनाका रूपमा थोरै टुक्रा तानेर यसलाई म्युजिकल फर्ममा ढालेका हौं । यो तीनवटा स्टेजमा गाइएको छ । सुरुको भागमा हाम्रो कुल देवता युमासँग अनुमति माग्दै ‘मेरो मुन्धुम पुगेन भने तपाईंले पुर्‍याइदिनू, भुलचुक भए क्षमा गर्नू’ भनेर पुकार गर्दै पुर्खाको परिचय दिइन्छ । लामो–लामो लेघ्रो तानेर यो अनुष्ठान गरेपछि दोस्रो भागमा साम्सोघालाई फकाउन एउटै लयमा धेरैबेर अनुष्ठान गरिन्छ । त्यति गर्दा पनि साम्सोघा गएन भने उसलाई खेद्ने मुन्धुम हुन्छ । यसमा रिस र आक्रोश हुन्छ । ‘तँ गइनस् भने मार्छु, लखेट्छु’ भनिन्छ । यतिबेलाको नृत्य एकदमै जोशिलो हुन्छ ।
यो मुन्धुमको भाव बुझेपछि साथीहरूले यसलाई स्टुडियोभित्र रेकर्ड गर्नुभन्दा बाहिर रेकर्ड गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिए । बाहिर रेकर्ड गर्दा प्राकृतिक आभास, हावा, चराचुरुंगीको आवाज पनि रेकर्ड हुने भएकाले यसमा वास्तविक मिठास आउँछ भन्ने लागेर हामीले डाँडाकाँडामै पुगेर रेकर्ड गर्ने योजना बनाएका थियौं ।
यसको म्युजिकल डकुमेन्ट्री बनाउनुपर्छ भन्ने किन लाग्यो ? भिडियो खिच्दाको अनुभव कस्तो थियो ?
खोकनास्थित ज्ञानोदय स्कुलको तल, भित्तामा उनीहरूको ओपेन थिएटर रहेछ, जंगलबीच । यो गीत त्यहीँ रेकर्ड गरिएको हो । त्यहीबेला भिडियो पनि खिचियो । लाइभ गाउने ठाउँ र गाउँदै गर्दाको भिडियो खिच्न काठमाडौं उपत्यकावरिपरिका सबै डाँडा छापा हानिएको थियो । पोहोर पानी पर्ने मौसम सुरु हुन लागिसेकाले सुटिङ गर्दागर्दै पानीले चुट्यो भने रेकर्डिङका सबै उपकरण बिग्रिने डर थियो । त्यसैले अलि नजिकै गरौं न त भनेर खोजी गर्दा ज्ञानोदयको थिएटर उपयुक्त स्थान लाग्यो । हामीले रेकर्ड गर्दा जंगलका काग, चराचुरुंगी धुमधाम कराए । भनेजस्तै माहोल भयो ।
रेकर्डिङ त गरियो, तर भिडियोमा त्यहाँको मात्रै दृश्य पर्याप्त लागेन । फेरि तङसिङ मुन्धुम भनेपछि येबा/साम्बाहरूलाई देखाउनैपर्‍यो । त्यसका लागि तेह्रथुमको वसन्तपुर (लालीगुराँस नगरपालिका) मा लिम्बूहरूको मुन्धुमअनुसार, सृष्टिकालदेखि अहिलेको सभ्यतासम्मका अनेक प्रतिक संकलन गरी बनाइएको मुन्धुम पार्क (चोलुङ पार्क) मा गएर भिडियो खिच्यौं । सम्पूर्ण काम सक्न एक वर्षै पो लाग्यो हौ !
स्टुडियोमा रेकर्ड गर्ने संगीत र यो संगीतमा के फरक छ ? यही संगीतलाई स्टुडियोमै रेकर्ड गरेको भए के फरक पर्थ्यो ? व्यावसायिक संगीतकारसँग काम गर्दा र फिल्डमा परम्परागत कलाकारसँग काम गर्दाको फरक के हुन्छ ?
बाहिर रेकर्ड गर्दा अर्कै आनन्द आउँदो रहेछ । एक त हाम्रोमा लाइभ रेकर्डिङको चलनै हराइसक्यो । ट्र्याकमा पनि मान्छेहरूले एक लाइनसमेत गाउन छोडिसके । एक–एक शब्द गाएर जोड्छन् । प्रविधिले बानी बिगार्दिएको छ । १८–१९ मिनेकोट गीत एकै तालमा झ्याम्मै रेकर्ड गर्नु गाह्रो विषय हो । तर, म गाइरहने भएकाले त्यस्तो गाह्रो लागेन । यसरी गाउँदा वास्तवमै संगीत गरेको अनुभव हुँदोरहेछ । टिमसँग बसेर एउटा गीत सुइँ कि सुइँ गाउँदा फ्लो पनि हुने, मुड पनि हुने रहेछ । सबैलाई आनन्द आउँदो रहेछ । यो खालको काम हाम्रोमा हराइसक्यो । कहिलेकाहीँ नेपथ्य ब्यान्डले गर्छ । तर, उनीहरू स्टुडियोभित्र लाइभ रेकर्ड गर्छन् ।
यसलाई स्टुडियोमा मात्रै गाइएको भए केही देखाउनै पाइँदैनथ्यो । साम्सोघा मुन्धुमको एकदमै प्योर एथ्निक, ट्रेडिसनल रिचुअल हो । यो येबा र साम्बाहरूको अनुष्ठान हो । त्यो अनुष्ठानलाई टपक्कै टिपेर मैले पश्चिमाहरूको क्वायर मिसाइदिएकी छु । त्यो मेलोडीसँग क्वायर मिलाउँदा कस्तो होला भनेर प्रयोग गरेकी थिएँ । निकै राम्रो पो सुनियो ।
म धेरै म्युजिक गर्दिनँ । एउटै ट्र्याकलाई अनेक तरिकाले गाइरहेकी हुन्छु । यही साम्सोघा मुन्धुम र हाक्पारे पर्फर्म गर्न थालेको दस वर्ष भइसक्यो । एउटै हाक्पारेको अरेन्जमेन्ट नै दसवटा भइसक्यो । फरक बाजागाजा, फरक समूहमा गाउँदा फरक मिठास आइरहेको हुन्छ । यी भाका र भावहरू साँच्चिकै म्युजिकल फर्ममा आउन अझै १५/२० वर्ष निरन्तर पर्फर्म गरिरहनुपर्छ ।
हुन पनि ॅखास्साम’ एल्बमदेखि हालसम्म, एक दशकभन्दा बढी समयदेखि तपाईं निरन्तर मुन्धुम र रिचुअल संगीतमा काम गरिरहनुभएको छ । एउटै हाक्पारेको अनेकथरी अरेन्जमेन्ट गरिसक्नुभयो । यी विधा मूलधारमा आइपुग्दा यिनको स्वरूप कस्तो होला ?
म यो क्षेत्रमा लागिपर्नुको कारण के हो भने यसमा काम गर्न धेरै बाँकी छ । ‘खास्साम’ एल्बमका गीत साउन्ड स्कोरिङ नगरिएका भर्सनमा थिए । लन्डन गएर तिनमा म्युजिक भरेँ । त्यही खास्सामका गीतहरूको अरेन्जमेन्ट परिमार्जन गर्दै अहिलेसम्म गाइरहेकी छु । मेरो समय र अन्य कुराहरू मिल्ने भए म हाक्पारेमा मात्रै १० वर्ष काम गर्ने थिएँ । त्यति भास्ट छ यो विधा । तङसिङ मुन्धुमतिर काम गर्न त एउटा जुनीले नै पुग्दैन । मैले साम्सोघा मुन्धुमको एक टुक्रा तानेर गाउने प्रयास थालेकै १८ वर्ष भयो । सन् २००५ देखि यसमा काम थालेकाले आज म्युजिकल डकुमेन्ट्री बनाउन सकियो । साइडमा अरू काम गरिरहँदा यसलाई छोडिनँ । भात खाएर उर्बेको पैसा यसमा लगाएँ । यी भाकामा निरन्तर काम भइरहेपछि मात्रै यिनलाई कस्तो बाजा सुहाउँछ वा कस्तो स्वरूपमा ढाल्न मिल्छ भन्ने थाहा हुन्छ ।
तपाईं मुन्धुम वा परम्परागत रिचुअललाई आफ्नो काममा ढाल्ने क्रममा रिचुअलका सांगीतिक अभ्यासलाई जस्ताको तस्तै उतार्नुहुन्छ कि नयाँ वा फरक केही गर्नुहुन्छ ?
हाम्रा येबा/साम्बा वा फेदाङ्दामाहरूले गर्दै आएको जुन मुन्धुम छ, म उनीहरूको स्टाइल अलिकति पनि बिगार्दिनँ । हामी कलाकारले समूदायको कलाको सौन्दर्य मार्नुर् हुँदैन । त्यसलाई बचाउनु हाम्रो कर्तव्य हो । म पूर्व जाँदा सकेसम्म धामी/झाँक्रीकै घरमा बस्छु । उनीहरूको स्टाइल संगतले पनि कपी हुन्छ भन्ने लाग्छ । मेलोडिको पार्टमा चाहिँ म अलिअलि परिमार्जन गर्छु । मुन्धुमलाई म्युजिकल फर्ममा ढालेपछि बाजागाजा त जुनसुकै चलाउँदा पनि केही फरक पर्दैन । यो किनभने म्युजिकल फर्ममा ढाल्नु भनेकै च्याब्रुङ, थाल, ढ्यांग्रो, झ्याम्टाबाट माथि उठ्नु हो । ती बाजा त धामी/झाँक्रीले बजाएकै छन् नि ।
म्युजिकल फर्म भनेको संसारका संगीत विद्वान्हरूले बनाएको दायरा हो । यसमा कति स्टेपको बाजा हुन्छ, संसारमा कतिवटा स्वर जन्मेको छ र त्यसमा पनि कतिवटा स्वर लेख्न मिल्छ, कतिवटा मिल्दैन भन्ने खुलाइएको हुन्छ । येबा/साम्बाहरूको मेलोडि पार्ट म किन बिगार्दिनँ भने ती स्वर लेख्नै मिल्दैन, कसरी बिगार्नु ? कहाँ उठाएर कतिबेला टुंग्याउँछज्, थाहै हुँदैन । यसलाई लिखित ढाँचामा ल्यायो भने बिग्रिन्छ पनि । जसरी कथ्य रूपमा पुस्तान्तरण हुँदै आएको छ, यसलाई त्यसरी नै बाँच्न दिइरहनुपर्छ ।
म पूर्वीय शैलीका नोटहरू हालेर मेलोडी परिमार्जन गरेर गाउँछु । सुन्नेलाई अलिकति नयाँपनको आभास होस् भन्ने लाग्छ र अलिअलि फेरबदल गर्छु । पश्चिमासँग फ्युजन गर्दा ७० प्रतिशत नेपालीपन राख्छु । संगीत त गणित हो, यति बार नेपाली, यति बार अर्को स्टाइल राख्ने भनेर हिसाब गर्न मिल्छ । मेरो समूहमा म्युजिक अरेन्मेन्ट गर्नेहरू एथ्नोम्युजिक पढेकै केटाहरू छन् । फ्युजन गर्दा उनीहरू वेस्टर्न क्लासिकल म्युजिक हाल्दैनन्, पश्चिमाको पनि इन्डिजेनस वा सामनिजमकै स्टाइल हालिरहेका हुन्छन् । गीत बनाउनुअघि येबा/साम्बाहरूलाई ‘म यसो–यसो गर्दै छु है, तपाईंहरूजत्तिकै फलाक्न सक्दिनँ, तर बाजा हालेर गाउँछु’ भनेर अनुमति लिने गरेकी छु ।
नेपालमा धामी, झाँक्री र सामनिजमसँग जोडिएको संगीतको अवस्था के छ ? उनीहरूको संगीतलाई समकालीन संगीतमा ल्याउनुपर्ने किन ?
ती अनुष्ठानलाई मैले गीतमा उतार्ने कुरा सुनाउँदा उहाँहरू निकै खुसी हुनुहुन्छ । विश्वभरमै हरेक जातमा विज्ञान, धर्म, संस्कार/संस्कृतिको जरो उहाँहरू नै हो । क्षत्री–बाहुनका पुजारी, पुरोहित, पण्डित नभएका भए उनीहरू कसरी पढाइ/अध्ययनमा लाग्थे वा हाम्रो फेदाङ्मा, येबा, साम्बा नभएको भए हामी केले लिम्मू हुन्थ्यौं ? नाक थ्याप्चो हुने मानिसहरू संसारभरि नै छन् । लिम्बू हुनुको आधार त त्यो भूगोलको मान्छे भएर उभिनु हो । र, त्यसको आधार येबा, साम्बाहरू हुन् । तर, आज उनीहरू नै अपहेलनामा छन् । विज्ञानले भनेको मात्रै मान्नु रे, उनीहरूले भनेको चाहिँ रुढिवादी, हावा रे । म त येबा/साम्बाको कुराहरू सुनेर चित खान्छु । कति विद्वान् तर्क गर्छन्, कथा सुनाउँछन् । ‘फलानो मुन्धुमबारे जति आउँछ, सुनाउनुस्’ भन्नुपर्छ, उहाँहरू घण्टौं फरर बोल्नुहुन्छ । हाम्रा धामी, झाँक्री वा सामनिजमसँग जोडिएको संगीत म्युजिकल फर्ममा आएकै छैन । फर्ममा ल्याउन किन जरुरी छ भने हाम्रो संगीतको खाका बनाउन त्यो नभई हुँदैन ।
तपाईंको यो कामले संगीत क्षेत्रमा के फरक पार्ला ? नेपाली संगीतको खाका बनाउन कुनै पहल भएको छ कि छैन ? पछिल्लो समयको माहोल कस्तो छ ?
नेपाली संगीतले आफ्नो उद्योग खडा गर्न सकेको छैन । उद्योग बन्न मैले गरेजस्तो काम हरेक समुदायले गर्नुपर्छ । एउटा मान्छेले गरेर साध्य हुँदैन । एउटै काम सम्पूर्ण रूपले नगरी यो जुनी सकिन्छ । तर, हरेक समुदायबाट काम भयो भने कमसे कम ५० वर्षमा एउटा खाका बन्छ र विश्व संगीतमा नेपाली संगीतको पनि पहिचान कायम हुन्छ ।
अहिले त कुनै कोरियन गीत चल्यो भने नेपालीले पनि त्यस्तै गाउन थाल्छन्, अंग्रेजी चले त्यस्तै खालको गीत नेपाली भाषामा बनाउँछन् । हिन्दीको प्रभावको त के कुरा गर्नु ! नक्कलमा कति वर्ष बाँच्ने नेपाल ? आफ्नो भाषा, संस्कार, संस्कृति, साहित्यको पहिचान र प्रवर्दन गर्नुपर्दैन ? एउटा कल्चर रिसर्च सेन्टर हुनुपर्छ भनेर उफ्रेको १० वर्ष भइसक्यो । यसमा लगानी गर्नुपर्‍यो भनेर सरकारलाई सुझाव दिएको हो, तर कसले सुन्ने ! हाम्रोजस्तो कामले नेपाली संगीतको खाका निर्माणमा सहयोग गर्छ । नेपाललाई कतै बाहिर लगेर चिनाउँदा ‘नेपाली स्टायल यो रहेछ’ भनेर थाहा पाउँछन् । नेपाल बहुसंख्यक हिन्दुहरू भएको देश हो, तर यहाँका संगीतकर्मीले अहिलेसम्म मन्त्रहरू गाएका छैनन् । भारतीयहरूले ‘त्रैयम्बकम् यजामय...’ को हजारवटा अरेञ्जमेन्ट बनाएर पैसा कमाइरहेका छन् । खै त नेपालीले गरेको ? राम्रो रेकर्ड गरेर युट्युबमा राखेको भए संसारभरका हिन्दुले सुन्थे । हाम्रोमा कामै भएको छैन ।
बाहुन नाकवाला गायकहरू बरु सुफी गाउँछन्, हिन्दी गाउँछन् । बाहुनजस्तो गीत गाउनु नि, संगीनी गाउनु । त्यो छैन । नवीन खड्काहरूले प्रयास गरे, तर उहाँलाई साथ दिने को ? मेरो जिब्रो बाहुनजस्तो पड्किँदैन, तामाङको जिब्रोजस्तो मेरो मरे पनि हुँदैन । त्यसैले हरेक समुदायले आ–आफैंले पहल गर्नुपर्छ । पछिल्लो समय युवाहरूले यस्ता काममा रुचि देखाइरहेका छन् । हाम्रो ट्राइबल हाटमा युवाहरू आएको देख्दा आशा पलाएको छ ।

 

कोसेली

म हजुरबाकी लक्षिमा

 

संसारमा कमै भाग्यमानी नातिनातिना होलान्, जो आमा–बुबाको काखसँगै हजुरबा–हजुरआमाको संगतमा हुर्किन पाउँछन् । ती थोरैमध्ये हामी तीन सन्तान पनि पर्यौं– म, भाइ जय र वहिनी बिना । त्यो स्नेह, न्यानोपन, माया, पुल्पुल्याई, निजत्व शब्दमा कसरी वर्णन गर्ने ? असलमा अनुभुति मात्रै गर्न सकिन्छ धेरै त ।
जस्तो कि नामकै कुरा गरौं न । म लुना, तर मेरा हजुरबाकी म लक्षिमा । मेरा हजुरबा टेकनाथ भट्टराईले अरूलाई फरक नामले बोलाएको म सम्झिन्नँ । मलाई मात्रै हजुरबाले नयाँ नाम किन दिनुभयो ? थाहा छैन । तर, यही नाम मेरा लागि विशेष भयो । आज हजुरबा हाम्राअघि हुनुहुन्न, तर यही नाम र अनेकौं यस्तै पलले हजुरबालाई हामीसँगै राखेको छ ।
मान्छेको जात अचम्मकै छ । बितेर गए पनि हामी आफ्ना प्रिय मानिसलाई जीवित राख्न सक्छौं । पर भए पनि नजिकै महसुस गर्न सक्छौं । त्यसका लागि विगतका केही मीठा सम्झना, गहिरो सामीप्य चाहिने रहेछ । उसरी नै मेरा हजुरबा–हजुरआमालाई कसैले नदेखे पनि मैले मेरै वरिपरि राखेकी छु । त्यसले मेरो दैनिकी वा जीवनलाई सम्पन्न बनाएको छ । अलि ठूलो कुरा गरेजस्तो लाग्छ, तर सत्य यही हो– आफ्ना आदरणीय र प्रिय मानिसलाई आफू वरिपरि राख्न सक्नु जीवन समृद्ध बनाउनु हो भन्ने लाग्छ मलाई ।
धेरै साथीसँग मैले हजुरबाबारे खुसी हुँदै सुनाउँदा ती अचम्म मान्थे । कहिलेकाहीँ ती हाम्रो घर आउँदा हजुरबासँग म र भाइबहिनीले कुरा गरेको, ठट्टा गरेको देखेर अचम्म मान्थे, दंग पर्थे । हाम्रा लागि हजुरबा साथीजस्तो । उहाँ कहिल्यै डर र हाउगुजी हुनुभएन । हुन त सबैका हजुरबासँग नातिनातिनाका आफ्नै सम्झना र रोचक प्रसंग होलान्, मीठा पल होलान् । सबैका त्यस्तै सुन्दर पल होऊन् भन्ने मेरो कामना हो । कत्ति साथीहरूले आफ्ना हजुरबासँगको डरको कुरा सुनाउँदा मलाईचाहिँ अचम्म लाग्छ । हजुरबाले नातिनातिनालाई गाली गर्ने, पिट्ने कसरी हुनसक्छ ?
अरूका कुरा अहिलेलाई छोडीदिऊँ, मेरै हजुरबा राम्रा ।
मेरो नामसँगको हजुरबाको प्रसंग उसै सकिँदैन । हजुरबाले मलाई बोलाउने नाम थियो– लक्षिमा । त्यो नाम मेरो दिमागमा गहिरो छाप बनेर बसेको छ । हजुरबाबारे मैले धेरैलाई सुनाएको छु । अनि हजुरबाले दिएको नामबारे पनि । यस नामप्रति मेरो एट्याच्मेन्ट महसुस गरेर मेरी एक साथीले कविता नै लेखिन् । पछि त्यो कविता गीत बन्यो र गाइयो पनि ।
हजुरबा भन्नेबित्तिकै अनेकौं सम्झना ओइरोपैरो भएर आउँछन् । तर, सबै रमाइला । जस्तो कि, हाम्रो घरमा गाईहरू पालिएका थिए । म कक्षा ४ पढ्दा गाईको दूध बेच्न म बजार जान्थेँ । जोशी चोकको एउटा चियापसलमा । नाम बिर्सिएर ‘एउटा’ भनेको होइन, त्यतिखेर आजजस्तो चियापसलको नाम हुन्थेन ।
अँ त, हजुरबुवाले पसलेलाई आदेश दिएअनुसार, दूध पुर्‍याएपछि पसलेले मलाई एक ‘गिलास’ चिया दिन्थे र म स्वाद मानेर पिउँथेँ । एक बिहानको कुरा हो, धेरै बेर पर्खें, पसलेले चिया दिएनन् । वास्ता पनि गरेनन् । घर आएर हजुरबालाई सुनाएँ । त्यसपछि बिहानको चिया कहिल्यै टुटेन । आखिर चिया सबैले पिउँछन्, तर मेरा लागि त्यो चिया चानचुने बनेन । त्यो चिया हजुरबा सम्झिने अर्को बलियो माध्यम हो । यसरी नै जोडिन्छन् सानासाना लाग्ने घटना र क्षण स्मृतिसम्म, आफ्ना प्रिय मान्छेसम्म । यो चानचुने कुरो हो ? लौ भन्नुस् त ? आखिर मान्छेको जीवन आफ्ना प्रिय मानिसको सम्झनामा यसरी नै त रोचक बनेको हुन्छ ।
अर्को त्यस्तै रोचक प्रसंग भन्छु ल । हाम्रो पुरानो घर हुँदाको कुरा हो । ‘पुरानो’ भनेको किनभने हामी सबैले नयाँ घर बनायौं र त्यो सुन्दर घरलाई पुरानो घर बनायौं । त्यस घरको लामै कथा छ । यहाँ भन्दिनँ । अँ त, त्यस दिन हामी हजुरआमा, हजुरबा र म मात्रै थियौं । बुवा इलाममै बस्नुहुन्थ्यो जागिरमा । आमा कतै काममा जानुभएको थियो, याद छैन । हजुरबाले भन्नुभयो, ‘नानी तँ र म कबुतरको सुप बनाएर खाऊँ ।’ अनि हजुरबाले आफूलाई मन पर्ने स्टाइलको मीठो पाराले कबुतरको सुप बनाउनुभयो । र, हामीले मीठो मान्दै खायौं । लौ हेर्नुस् त त्यसपछि जीवनमा के–केका सुप खाइयो । यत्तिका उमेरमा अनेकौं मिष्ठान्न भोजन खाइयो । त्यस दिनको कबुतर अर्थात् परेवाको सुपलाई केहीले बिर्साउन सकेन । यो चानचुने कुरा होइन । ‘कबुतर र मेरा हजुरबा’ उस्तै परे यो शीर्षकमा उपन्यासै लेख्ने खालको प्रसंग छ । मलाई हजुरबाको सम्झना नै प्रिय छ ।
विचार गर्दा लाग्छ, मेरा हजुरबा साह्रै परिश्रम गर्ने, इमानदार हुनुहुन्थ्यो । तर, जीवनलाई त्यति निरासा वा कस्ट नमान्ने । खानपिन, रमाइलोमा पनि चाख उहाँको । हजुरबा हामीसँग नाच्नुहुन्थ्यो ‘ए मन तैंले के दुख्ख पाइस्, फर्कीफर्की मायामा भुलेर’ भन्दै । हजुरबासँगै बसेर नवीन के भट्टराईको ‘साँझ पख एकान्तमा’ गीत हेर्थ्यौं टीभीमा । उहाँले हाम्रो रुचिमा कहिल्यै झिंजो मान्नुभएन । उल्टै साथ दिएर रमाउनुभयो । पुस्तै नमिल्ने, विचार र स्वभावै नमिल्ने, रुचि नै नमिल्ने हुँदा पनि त्यो उमेरको मानिसले त्यसो गर्नु चानचुने कुरा होइन । अझ हजुरबा त मैले लेखेको कविता पनि सुन्नुहुन्थ्यो । मैले पाउने पुरस्कारका डटपेन हजुरबालाई दिन्थें सबै । त्यसो गर्दा मलाई निकै खुसी लाग्थ्यो । लु हेर्नुस् त अर्को खण्डकाव्यको शीर्षक छ यहाँ– हजुरबालाई डटपेन उपहार ।
तिनै डटपेनले हजुरबा संस्कृतका श्लोक र कविता लेख्नुहुन्थ्यो । हामीलाई उल्था गरेर नेपालीमा सुनाउनुहुन्थ्यो । एउटा सम्झिन्छु– तक्षकस्य विषं दन्ते मक्षिकायास्तु मस्तके ।। ब्रिश्चिकस्य विषं पुच्छे सर्वाङ्गे दुर्जने विषम ।।
हजुरबाको डल्ले गिलासको चिया, त्यसमा घोलेर खाएको एक कर्काली सातु । हजुरबाले पकाएको तोरीको साग, काँक्राको राइतो, आमिल्याको तामा, बारी डुलेर आउँदा ल्याइदिने किम्बु आदि इत्यादि । तिनको स्वाद अझै छ । हजुरबा पकाएजस्तो मीठो ‘मिट’ अरू कसैले बनाउन सक्दैन ।
हजुरबा सँगसँगै खेतमा हलोको पछि लागेर खोजेका आलु, कहिलेकाहीँ उहाँकै करले छर्नुपरेको मकै । ‘छेउछेउमा मात्रै रोप है धान’ भन्दाभन्दै आँखा छलेर बिगारेको मेलो होस् कि चाक्लामा बोकेको मल । ती दिन सम्झँदा अचम्मै रमाइलो लाग्छ जीवन ।
प्रायः हामी केटाकेटी र हजुरबासँगै खाना खान्थ्यौं । हजुरबा चुलाको छेउमा, हामी भान्छाको पुछारमा । म हजुरबाको सिको गर्दै खान्थेँ । तर, हामी खुब हल्ला गर्थ्यौं खाना खाँदा । अचम्मका कुरा गर्थ्यौं होला हामी, कहिलेकाहीँ आमा हामी सँगसँगै हाँस्नुहुन्थ्यो हाम्रा कुराले । हजुरबा मुसुमुसु हाँस्नुहुन्थ्यो । हजुरबाले न कहिल्यै ठूलो स्वरले हप्काउनुभयो, न पिट्नुभयो, न कहिल्यै डर देखाउनुभयो । यो साँचो हो, यसमा कुनै बढाइँचढाइ छैन ।
स्कुल जाँदा, घरमा पढ्दा, पुरस्कार लिएर आउँदा र परीक्षाको रिजल्ट सुनाउँदा जति खुसी अरू बेला कहिल्यै देखिनँ हजुरबालाई । मेरो एसएलसीको रिजल्ट सुनाउने ठूलो धोको थियो, तर पाइनँ ।
यसो सोच्छु, परीक्षा बोर्डले रिजल्ट निकाल्न ५ दिन ढिलो नगरेको भए के बिग्रिन्थ्यो ? हजुरबालाई अझै खुसी देख्न पाउँथेँ । ठीकै छ, त्यो अपुरो धोको पनि गहिरो सम्झना बनिदियो हजुरबाको । तर, अचम्मै भयो– हजुरबा बितेको करिब २०, २२ दिन भएको हुँदो हो, उहाँ मेरो सपनामा आउनुभयो र सोध्नुभयो, ‘लक्षिमा, आई लक्षिमा, तैंले त मलाई एसएलसीको रिजल्ट नै
सुनाइनस् !’ मैले खुसी हुँदै भनें, ‘६४ प्रतिशत आयो नि हजुरबा ।’ झल्याँस्स ब्युँझिएछु । अनौठो लाग्यो । भोलिपल्ट बिहानै हजुरआमाको छेउमै गएर भनेँ, ‘हजुरआमा मैले हजुरबालाई रिजल्ट सुनाएँ नि ।’
त्यसपछि हजुरआमा भावुक हुनुभो ।