You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

एक पूर्वमन्त्री फरार, अर्का तानिए

- देवेन्द्र भट्टराई,मातृका दाहाल

(काठमाडौं)
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् ।
२०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए ।
गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् ।
बुधबार जडीबुटी/पेप्सिकोला क्षेत्रबाट पक्राउ परेका सचिव पाण्डेको मोबाइल तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पाण्डेको मोबाइल ‘फर्म्याट’ गरेर खाली बनाएको भेटिएको छ । त्यसलाई प्रयोगशाला पठाएर विवरण ‘रिकभर’ गर्न लागिएको प्रहरी अधिकारीले बताएका छन् ।
प्रहरीका अनुसार सचिव पाण्डेको मोबाइल विवरण तत्काल नभेटिए पनि पक्राउ परेका अन्य केही आरोपितका मोबाइलबाट यो गिरोहमा पाण्डे पनि सामेल भएको विवरण भेटिएको छ । यो विवरणअनुसार पाण्डे गिरोहसँग निरन्तर सम्पर्कमा थिए । ‘उनीहरूबीच फोन र म्यासेज आदानप्रदान भएको देखिन्छ, कुराकानी नक्कली शरणार्थी बनाउने विषयमा केन्द्रित छ,’ अनुसन्धानमा रहेका एक प्रहरीको भनाइ छ ।
२०७८ असार २९ देखि २०७९ पुस ११ सम्म गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन् । कहिले शरणार्थी समस्याको कुरामा,
कहिले यही दुलाल–भण्डारीको टोलीमा र कहिले भेला–बैठकमा उहाँ आउनुभएको हो, तर गिरोहसँगको काममा हो कि होइन भन्न सकिएन,’ झापा प्रशासनका एक अधिकारीले भने । तर,
यो लहरो तान्दा अझै एक दर्जन ‘हाई प्रोफाइल’ तानिने अनुसन्धानकर्मी अधिकारीको भनाइ
छ । यता, प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।
प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् ।
आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए । ‘पक्राउ पुर्जी काटेर आफ्नो बेइज्जत गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएको थियो, तर आफ्नो जे भनाइ छ अनुसन्धान गरिरहेको सम्बन्धित प्रहरी कार्यालयमै गएर राख्न भनेर उहाँलाई सुझाव दिइएको छ,’ प्रहरीका एक अधिकारीले भने ।
तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन् । अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए ।

आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।
तर, त्यसपछि रायमाझी कता गए भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
‘पक्राउ पुर्जी जारी हुँदा आरोपित व्यक्ति (रायमाझी) उपत्यकाबाहिर रहेको अवस्था थियो । त्यसपछि निरन्तर निगरानी गर्न सम्बन्धित जिल्लाको प्रहरीलाई भनेका थियौं,’ अनुसन्धानमा रहेका एक अधिकारी भन्छन्, ‘विगतमा उच्च ओहदामा रहिसकेका, बहालवाला सांसद, विपक्षी दलको जिम्मेवार पदमा रहेका व्यक्तिले म आफैं उपस्थित हुन्छु भनेपछि केही लचकता अपनाइयो । तर, आफ्नै प्रतिबद्धताविपरीत सम्पर्कविहीन हुँदा आरोपलाई स्विकारेजस्तो भयो । यसले अनुसन्धानलाई असहयोग पुगेको छ ।’
रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।

मुख्य पृष्ठ

रास्वपा विपक्षी बेन्चमा

- कलेन्द्र सेजुवाल

(काठमाडौं)
संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले समर्थन फिर्ता लिएर विपक्षी बेन्चमा बस्ने निर्णय गरेको हो । पुस १० मा दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेको रास्वपाले माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको थियो ।
रास्वपाको निर्णयले सरकारलाई गणितीय संकटमा नपारे पनि नैतिक रूपमा प्रभावित गरेको छ । अब २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालको समर्थनमा कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमोर्चा तथा आम जनता पार्टीका १/१ गरी १ सय ५८ सांसद रहेका छन् । यीमध्ये जनमत, जनमोर्चा र आम जनता सरकारमा छैनन् । जनमतले मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै चैत १७ गते सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।
जनमतका महासचिव चन्दनकुमार सिंहले यस्तै अवस्था रहे समर्थन फिर्ता लिने अवस्था आउने बताए । ‘हामी सरकारमा नरहे पनि अहिलेसम्म समर्थन कायमै राखेका छौं, तर प्रधानमन्त्री ठीक ढंगले चल्नुभएको छैन,’ उनले भने, ‘केही समय ‘पर्ख र हेर’ मा छौं, प्रधानमन्त्री सच्चिनुभएन भने हामी जतिसुकै बेला बाहिरिन सक्छौं ।’ उपनिर्वाचनपछि जसपा अध्यक्ष उपेन्द्र यादव
संसद्मा पुगेपछि समर्थन कायमै राख्नका लागि वातावरण थप प्रतिकूल बनेको उनले बताए ।
माओवादी महासचिव देवप्रसाद गुरुङ पुस १० को सहमतिअनुसार सत्ता समर्थक दलका कारण राष्ट्रिय सहमतिको वातावरण बिथोलिएको बताउँछन् । सकभर सरकारमा सहभागी भएर, नभए समर्थन कायमै राखेर राजनीतिक स्थायित्व र स्थिरतामा टेवा पुर्‍याउन रास्वपालाई आग्रह गरिए पनि नमानेको उनको भनाइ छ । ‘राष्ट्रिय सहमतिको मोडेलबाट जाऔं भन्ने आग्रह गरेका थियौं, तर उहाँहरूले आफ्नो स्वतन्त्रताको उपभोग गर्नुभयो,’ उनले भने, ‘जसले समग्र प्रणालीलाई संकटमा पार्ने गर्छ ।’
रास्वपाले समर्थन फिर्ता लिएसँगै संसद्मा विपक्षी मोर्चा भने मजबुत भएको छ । अब एमालेका ७९, रास्वपाका २१, राप्रपाका १४ र नेमकिपाका १ सहित विपक्षी बेन्चमा १ सय १५ सांसद रहनेछन् । एमाले सचिव योगेश भट्टराईले रास्वपाले ढिलै भए पनि गल्ती सच्याएर स्वागतयोग्य निर्णय गरेको बताए । ‘पुस १० को सहमति भंग भइसकेपछि सरकारलाई दिएको समर्थन कायमै राख्नु उचित थिएन, त्यसमाथि उहाँहरूले अस्ति (चैत ६ गते) विश्वासको मत दिएर गल्ती गर्नुभएको थियो,’ उनले भने, ‘अब विपक्षी बेन्चमा उहाँहरूलाई स्वागत छ, हामी (विपक्षी) बलियो भएका छौं ।’
रास्वपाले समेत प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि पुस १० को सहमति करिब भंग भएको छ । उतिबेला एमालेको अगुवाइमा माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, लोसपा र नागरिक उन्मुक्तिको आठदलीय गठबन्धन बनेको थियो । उक्त गठबन्धनका प्रमुख ३ दल एमाले, रास्वपा र राप्रपा अलग्गिएका छन् । जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति भने प्रधानमन्त्रीसँगै छन् । माओवादी महासचिव गुरुङले संसदीय व्यवस्थामा सत्ताको सन्दर्भमा दलहरू यताउति देखिए पनि प्रधानमन्त्रीलाई विश्वासको संकट नभएको बताए ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक
सन्तोष परियारले सरकारमा पुनः सहभागिताका लागि प्रधानमन्त्री दाहालले आग्रह गरे पनि
न्यूनतम साझा कार्यक्रम पुनर्लेखनलगायत चासोमा ठोस सम्बोधन नभएपछि सरकारबाट बाहिरिएको बताए ।

‘उपनिर्वाचनको जनमत पनि सरकारमा जानुभन्दा प्रतिपक्षीमा बसेर जनताका मूलमुद्दा उठाओस् भन्ने रह्यो,’ उनले कान्तिपुरसँग भने, ‘बैठकमा साथीहरूको धारणा सुनेपछि सर्वसम्मत रूपमा समर्थन फिर्ताको निर्णय लिइएको हो ।’
प्रधानमन्त्रीले माग्लान् विश्वासको मत ?
रास्वपाले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने सत्ता घटक दल र संविधानविद्को भनाइ छ । संविधानको धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने’ उल्लेख छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले रास्वपाले समर्थन फिर्ता लिए पनि ऊ सरकारमा नरहेको कारण प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने बताए । ‘रास्वपाले समर्थन गरेको भए पनि सरकारमा थिएन, त्यसैले उसको निर्णयबाट विश्वासको मत लिनुपर्ने बाध्यता हुँदैन भन्ने हाम्रो बुझाइ छ,’ उनले भने, ‘तैपनि सत्ता साझेदार दल र संविधानविद्सँग परामर्श लिन्छौं ।’
संविधानविद् विपिन अधिकारी रास्वपाको सरकारसँग सम्बन्ध सत्ता साझेदारिता नभएकाले विश्वासको मत लिनु नपर्ने बताउँछन् । ‘यो धारामा पर्याप्त हुनका लागि मन्त्रिपरिषद्मा पनि सहभागिता चाहिन्छ । गुण र दोषका आधारमा समर्थन गर्नुमात्र विश्वासको मत लिने परिस्थितिका लागि पर्याप्त छैन,’ उनले भने ।
एमाले सचिव योगेश भट्टराईले सरकारलाई समर्थन गरेको तेस्रो ठूलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री नैतिक संकटमा परेकाले विश्वासको मत लिनुपर्ने बताए । ‘विश्वासको मत लिने कि नलिने भन्ने त संविधानले बताउला । तर नीति तथा कार्यक्रम र बजेटको मुखमा एउटा प्रमुख दलले समर्थन फिर्ता लिएपछि सरकार नैतिक संकटमा परेको छ,’ उनले भने, ‘त्यसैले बहुमत प्रमाणित गर्नका लागि विश्वासको मत लिनुपर्छ ।’

मुख्य पृष्ठ

किन बस्ती पस्दै छ बाघ ?

- भवानी भट्ट

(कञ्चनपुर)
बेलौरी–८ पचुईमा बाघको आक्रमणबाट दुई साताअघि महिलाको मृत्यु भयो । खप्टी नालामा घाँस काटिरहेका बेला बाघले आक्रमण गरेर स्थानीय ४२ वर्षीय गंगा चन्दलाई घिसारेर लगेको थियो । दोस्रो दिन बाघलाई डार्ट गरेर बेहोस पारी नियन्त्रणमा लिएपछि मात्र शव भेटियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागअन्तर्गतका कर्मचारीले बाघलाई नियन्त्रणमा लिएर सदर चिडियाखाना पठाइए । तर स्थानीयलाई बाघको त्रास उस्तै छ । अहिले पनि बेलाबेला बाघ देखिने गरेकाले दिउँसोसमेत एक्लै हिँड्न नसकिने अवस्था आएको स्थानीय बताउँछन् । ‘बेलाबेला बाघ देखापर्ने गरेको छ, स्थानीय त्रसित छन्,’ बेलौरी–८ का वडाध्यक्ष बिसराम रानाले भने, ‘बस्तीसम्मै चित्तल पुग्ने भएकाले आहाराका लागि बाघ आउने गरेको हुनसक्छ ।’ उनका अनुसार महिलाको मृत्युपछि पनि पटक–पटक बाघ देखिएको छ ।
चैत दोस्रो साता दुधुवा राष्ट्रिय निकुञ्जमा पुनर्वास–१० की महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । पुनर्वास र बेलौरीमा नियमित बाघ देखिएपछि अनुगमनका लागि तीनजोडी ट्रयापिङ क्यामरा जडान गरियो ।

एक सातासम्म बाघ नदेखिएपछि क्यामरा निकालियो । क्यामरा निकालिएकै दिन पुनर्वास–११ को गंगाजमुना सामुदायिक वनमा चितुवा देखियो । मोहना नदी किनारको सामुदायिक वनमा चित्तल पानी पिउन आउँछन् । त्यही मौकामा आहाराको खोजीमा बाघ आउने गरेको सव डिभिजन वन कार्यालय कुण्डाका सहायक वन अधिकृत दिनेश यादवले बताए ।
डिभिजन वनले बेलौरीको पचुईमा फेरि बाघको अनुगमनका लागि ६ जोडी स्वचालित क्यामरा जडान गरेको छ । तीन दिनअघि उक्त क्षेत्रमा क्यामरा जडान गरिएको छ । ‘चित्तललगायतका वन्यजन्तुको मुभमेन्ट बढेका कारण बाघ र चितुवा आहाराको खोजीमा आएको हुन सक्छ,’ यादवले भने, ‘वनजंगलमा डढेलोका कारण पनि वन्यजन्तु बाहिर निस्केका छन्, त्यही बेला बाघ पनि बाहिर आएको हुन सक्छ ।’ निकुञ्जबाट खप्टिनालाको दूरी १० किलोमिटर हाराहारी छ ।
पछिल्लो गणनाअनुसार नेपाल र भारत दुवैतर्फका संरक्षित क्षेत्रमा बाघको संख्या उल्लेख्य बढेको छ । यसले उनीहरू आहाराका लागि पुरानो विचरण क्षेत्रबाहिर निस्कने जोखिम बढेको छ । यस्तो हुँदा संरक्षित क्षेत्रसँगै जोडिएका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व बढ्न सक्ने संरक्षणकर्मी बताउँछन् । मध्यवर्ती क्षेत्र र आसपासका बासिन्दालाई पनि जीविकोपार्जनदेखि सचेतना लगायतका गतिविधि अगाडि बढाउनुपर्ने उनीहरूको मत छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा बाघको संख्या दोब्बर पुगेको छ । गत वर्षको गणनामा यहाँ बाघको संख्या ३६ पुगेको पाइएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या एक सयभन्दा बढी
पुगेको छ ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्ज लालझाडी मोहना संरक्षित क्षेत्रसँग जोडिएको छ । दुधुवाबाट लालझाडी–मोहना संरक्षित क्षेत्र भएरै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म वन्यजन्तु ओहोरदोहोर गरेको पाइन्छ । खासगरी हात्तीले यो मार्गमा बढी ओहोरदोहोर गरिरहेको छ । जसका कारण बर्सेनि जनधनको क्षति भइरहेको छ । पछिल्लो ५ वर्षको अवधिमा हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।
‘आहारा प्रजाति कम भएपछि बाघ आफ्नो बासस्थान छाड्न बाध्य हुन्छ वा अर्को बाघ आएपछि भाग्न बाध्य हुन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘अहिले बाघको संख्या बढेको छ, आहारा खोजीमा बाहिर निस्केको हुन सक्छ ।’ पुचईबाट नियन्त्रणमा लिइएको बाघ दुधुवा राष्ट्रिय निकुञ्जबाटै आएको उनले बताए । शुक्लाफाँटामा गत वर्ष क्यामरा ट्र्यापमा परेका बाघको तस्बिरसँग नमिलेको उनले बताए ।
शुक्लाफाँटाबाट हालसम्म बाघले बाहिर निस्केर आक्रमण गरेको घटना छैन । उनका अनुसार निकुञ्जमा आहारा प्रजातिका वन्यजन्तु पर्याप्त रहेका कारण बाघ बाहिर निस्कनुपर्ने बाध्यता छैन । यहाँ आहारा प्रजातिको घनत्व प्रतिवर्गकिलोमिटरमा १४६.२ छ । ‘आहारा भएर मात्रै पुग्दैन, डिस्टर्ब पनि हुनु हुँदैन,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘दुधुवामा डिस्टर्ब भएर वा आहाराकै खोजीमा बाघ बाहिर आएको हुन सक्छ, हामीकहाँ डिस्टर्ब छैन ।’ शुक्लाफाँटा कम क्षेत्रफलमा बढी बाघ भएको संरक्षित क्षेत्र हो । तर बढी क्षेत्रफल भए पनि आहारा नभएका संरक्षित क्षेत्रबाट बाघ बाहिर आउने गरेको उनले बताए ।
लालझाडी मोहना संरक्षित क्षेत्र हात्तीको पनि परम्परागत मार्ग हो । यहाँ बर्सेनि हात्तीले बाली नोक्सानका साथै धनजनको पनि क्षति गर्दै आएको छ । लालझाडी संरक्षित क्षेत्रसँगै दुधुवा र शुक्लाफाँटासँग जोडिएका बस्तीमा हात्तीले ठूलो क्षति गरिरहेको छ । ‘संरक्षित क्षेत्र आसपास बसोबास गर्ने स्थानीयलाई पनि सचेत बनाउनु आवश्यक छ,’ मेहता भन्छन्, ‘बाघले बानी बदल्दैन, हामीले आफ्नो बानी बदल्नुपर्‍यो ।’ संरक्षित क्षेत्रभित्र नपस्ने, सुरक्षित भएर बस्ने तथा वन्यजन्तुलाई मन नपर्ने खालका खेतीपाती गर्नेलगायतमा परिवर्तन गर्नॅपर्ने उनले बताए ।

 

Page 2
म्यागेजिन

४ करोडको मुद्दा सुनुवाइको प्रतीक्षामा मजदुर लालबहादुर

- तुफान न्यौपाने

(काठमाडौं)
दिलकुमारी विश्वकर्मा गत मंगलबार बिहान पनि यसअघि जस्तै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलस्थित घरबाट हतार–हतार विराटनगर उच्च अदालत हिँडिन् । करिब डेढ घण्टाको बस यात्रा गरी अदालत पुग्दा बिहान १० बजेको थियो । तर हतारको त्यो यात्रा यस पटक पनि निरर्थक भयो । ‘नखाएको विष लाग्यो । श्रीमान्लाई जेलमा थुनेका छन् । उच्च अदालतले सत्यतथ्य बुझेर सफाइ देला भन्ने आस थियो तर न्यायाधीशहरूले मुद्दा हेर्न मिलेन भनेर सुनुवाइ नै गरेनन्,’ दिलकुमारीले सुनाइन् ।
दिलकुमारीका श्रीमान् लालबहादुर विश्वकर्मा गर्दै नगरेको अपराधमा जेल परेको पाँच महिना पुगेको छ । उनलाई छुटाउने प्रयोजनले विराटनगर उच्च अदालतमा मुद्दा दर्ता भएको पनि पाँचै महिना भयो । र, यो मुद्दामा पेसी तोकिए पनि सुनुवाइ नभएको पनि पाँचै पटक भयो । गत माघयता चार पटक न्यायाधीशहरूले ‘हेर्न नमिलेर’ सुनुवाइ भएन, हेर्न मिल्ने न्यायाधीशहरूको इजलासमा एक पटक परेकामा त्यसै दिन वकिलहरूले मुद्दा स्थगन गराए । यस्ता अदालती प्रक्रियाबारे अन्जान दिलकुमारी हरेक पटक श्रीमान्लाई छुटाउने उस्तै आससहित अदालत पुग्छिन् तर विभिन्न कारणले सुनुवाइ नहुने थाहा पाएपछि खिस्रिक्क परेर फर्किन्छिन् ।
िि
िलालबहादुर २०७२ देखि इटहरी–२० स्थित सिंहदेवी ज्वेलर्समा गरगहना बनाउने कालिगडका रूपमा कार्यरत थिए । सिंहदेवी ज्वेलर्स कृष्णबहादुर विश्वकर्मा गजमेर, उनका छोराहरू दीपक, कमल र छोरी सीताले मिलेर चलाएका थिए । उनीहरूले ज्वेलर्समा गरगहनाको कारोबार मात्र गर्दैनथे, सिंहदेवी ज्वेलर्स प्रालिका नाममा पासबुक बनाएर धेरै दरको ब्याज दिने प्रलोभनमा सर्वसाधारणबाट लाखौं रकम उठाउँथे । उनीहरूले २०७५ जेठ अन्तिमसम्ममा १८ करोड ८४ लाख रुपैयाँ संकलन गरिसकेका थिए । दीपकले उक्त रकम जग्गा कारोबारमा लगाएका थिए ।
एक दिन दीपक, कमल र सीता कोही पनि नभएको समयमा स्थानीय कञ्चन चौधरी ५ लाख र अम्बिका अञ्जना राई १० लाख ७२ हजार रुपैयाँ जम्मा गर्न आए । हस्ताक्षरसमेत गर्न नसक्ने वृद्ध कृष्णबहादुर पसल कुरी बसेका थिए । उनले रकम बुझेको भनेर पासबुकमा सही गरिदिन कालिगड लालबहादुरलाई अह्राए । लालबहादुरले भनेबमोजिम सही गरिदिए । अर्को दिन पसलमा फर्किएका दीपकले लालबहादुरको नाम काटेर चौधरी र राईको पासबुकमा आफ्नो नाम लेखी हस्ताक्षर गरे । ज्वेलर्सले यसरी वित्त तथा बैंकिङ कारोबार गर्नु गैरकानुनी हो ।
स्थानीयलाई बढी ब्याजदर दिने प्रलोभन दिएर रकम उठाउने र जग्गा कारोबारमा लगाउने दीपकको यो धन्दा लामो चलेन । जग्गा किनबेचमा मन्दी आएसँगै उनले बढी ब्याज त परै जाओस्, सर्वसाधारणबाट उठाएको रकमसमेत फिर्ता दिन सकेनन् । त्यसपछि स्थानीय सुक्मित गुरुङसमेत ९ जनाले आफूहरूबाट गजमेर परिवार र ज्वेलर्सका कालिगड लालबहादुरले ५२ लाख ६६ हजार ४ सय २५ रुपैयाँ ठगी गरेको भन्दै उनीहरूलाई कारबाही गरी रकम असुलिदिन माग राख्दै प्रहरी कार्यालयमा निवेदन दिए । ९ जनाबाट सुरु भएको यो निवेदन दिने क्रम बढ्दै २ सय २१ जनासम्म पुग्यो । प्रहरीले अनुसन्धान सुरु गरेपछि थप ५४ जना आफूहरू पीडित बनेको भन्दै खुले । प्रहरीले २०७५ असार २१ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरुन्जेलसम्ममा २ सय ७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ संकलन गरेको खुल्यो । सिंहदेवी ज्वेलर्स बैंकजस्तै भएको, राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत लिएको, शनिबार पनि रकम झिक्न मिल्ने, लगानीबाट आएको मुनाफा सबैले बाँडेर लिन पाइनेलगायतका प्रलोभन दिएर गजमेर परिवारले रकम संकलन गर्न लगाएको ठगिएका सर्वसाधारणले दिएको जाहेरीमा उल्लेख थियो ।
अनुसन्धानका क्रममा ठगी प्रकरणका मुख्य व्यक्ति दीपक र कमल भागे । प्रहरीले ज्वेलर्स सञ्चालक कृष्णबहादुर, उनकी छोरी सीता र कालिगड लालबहादुरलाई पक्राउ गर्‍यो । बयानमा कृष्णले आफूले हस्ताक्षर गर्न नजान्ने भएकाले दुई जना ग्राहकले जम्मा गर्न ल्याएको रकम आफूले बुझेर लालबहादुरलाई पासबुकमा हस्तक्षर गर्न अह्राएको बताए । उनले बयानमा ‘मलगायत छोराहरू दीपक, कमल र छोरी सीतासमेतको मिलेमतोमा रकम लिएको हो, लालबहादुरले मैले अह्राएबमोजिम हस्ताक्षर गरेको हो, यसमा उसको कुनै दोष छैन’ भनेका थिए ।
कृष्णकी छोरी सीताले पनि प्रहरीसमक्ष भनिन्, ‘लालबहादुर हाम्रै सुन पसलका कालिगड हुन् । हामी नभएको र बुबालाई दस्तखत गर्न नआउने भएकाले उनले दस्तखत गरिदिएका रहेछन् ।’ लालबहादुरले पनि प्रहरीसमक्ष यही व्यहोराको बयान दिए, ‘म कालिगडका रूपमा कार्यरत छु । पसलका साहुहरूले रकम उठाउँदै आएका हुन् । कृष्णबहादुर गजमेरको आदेश निर्देशनमा मैले एक दिन दुइटा पासबुकमा सही गरिदिएकोसम्म हुँ । पैसा कृष्णबहादुर गजमेरले राखेका हुन् । अन्य रकम सम्बन्धमा मलाई केही
थाहा छैन ।’
प्रहरीले लालबहादुरले समेत ठगी गरेको, त्यसबाट उनले कुनै लाभ पाएको प्रमाण जुटाउन सकेको थिएन । तैपनि गजमेर परिवारका चार जना जत्तिकै कसुरदार मान्दै लालबहादुरलाई समेत जिल्ला अदालत सुनसरीमा असार २१ मा मुद्दा चलायो । पाँचै जनालाई दुई वटा अभियोग लगाइयो– बिनाइजाजत बैंकिङ तथा वित्तीय कारोबार गरेको र सर्वसाधारणलाई ठगी गरेको । लालबहादुर जेठ २७ मा पक्राउ परेर निरन्तर हिरासतमा थिए । जिल्ला अदालतले असार २५ मा कृष्ण र सीतालाई जनही १५ लाख रुपैयाँमा धरौटीमा छाड्न भन्यो । तत्काल प्राप्त प्रमाणबाट यो कसुरमा लालबहादुरको कुनै संलग्नता नदेखिएको भन्दै उनलाई साधारण तारिखमा छाड्ने आदेश दियो । लालबहादुर २८ दिनको थुनापछि छुटे ।
फरार रहेर प्रहरीको थुना छलेका मुख्य अभियुक्त दीपक मुद्दा दर्ता भएपछि मात्र अदालतमा हाजिर हुन पुगे । उनले बयानका क्रममा आफूले बैंकले जस्तो कारोबार नगरेको बरु स्थानीयबाट ऋण लिएको बयान दिए । थप भने, ‘लालबहादुर विश्वकर्माको कुनै संलग्नता र सहमतिसमेत छैन । मैले अह्राएको समयमा मात्र पासबुकबाट पैसा लिएको थियो ।’
पछि अदालतमा बयानका क्रममा दीपकका बुबा कृष्णले पनि लालबहादुरको संलग्नता नभएको भनी प्रहरीलाई दिएको बयान दोहोर्‍याए । लालबहादुर स्वयंले पनि आफ्नो संलग्नता अस्वीकार गरिरहे । सुरुमा प्रहरीमा जाहेरी दिएका सुक्मित गुरुङसहित ७२ जना जाहेरवालाले ‘सामान्य कालिगड मात्र रहेका लालबहादुर निर्दोष भएको, उनीबाट आफूहरू नठगिएको र जाहेरीमा उनको नाम भूलवश परेको’ भन्दै उनले सफाइ पाउनुपर्ने बकपत्र गरे । लालबहादुरका साक्षी रामप्रसाद लुइँटेल र प्रेमबहादुर विश्वकर्मा र प्रहरीले ‘वस्तुस्थिति मुचुल्का’ तयार पार्दा बुझेका व्यक्ति सोमनाथ निरौलाले पनि लालबहादुर सामान्य कामदार मात्र रहेको र उनी निर्दोष रहेको बताए । यसरी प्रहरीले संकलन गरेका र अदालतमा पेस भएका कुनै पनि प्रमाणले लालबहादुरलाई दोषी देखाउँदैनथे ।
उक्त ज्वेलर्समा लालबहादुर कालिगडका रूपमा काम गर्नेबाहेक अन्य कुनै जिम्मेवारीमा थिएनन् । जसको अर्थ पसलको हिसाब–किताबमा उनको कुनै कानुनी दायित्व हुँदैन । पसल सञ्चालकको निर्देशनमा भएको हस्ताक्षरको लाभ वा हानि पनि लालबहादुरलाई भएको थिएन । उक्त निर्देशनको जिम्मा सञ्चालकले लिएको बयान दिएका थिए । मुद्दामा प्रहरीले अभियोग लगाएका सबै प्रतिवादीले अनुसन्धानका क्रममा र अदालतमा लालबहादुर निर्दोष रहेको बयान गरेका थिए । गैरकानुनी रूपमा रकम संकलन गर्न गजमेर परिवारले प्रयोग गरिरहेका कुनै पनि संस्था वा कम्पनीको कारोबारमा लालबहादुरको कुनै सरोकार र हिस्सा थिएन ।
तैपनि २०७८ पुस १९ मा फैसला गर्दै जिल्ला न्यायाधीश निर्मला योङ्याले लालबहादुरलाई इजाजत नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेको र सर्वसाधारणको रकम उठाएर ठगी गरेकामा दोषी ठहर्‍याइन् । बिनाइजाजत वित्तीय कारोबार गरेकामा १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ जरिवाना हुने तथा ठगी मुद्दामा पनि १ वर्ष ६ महिना कैद र ७० हजार जरिवाना हुने ठहर गरिन् । साथमा गजमेर परिवारले २ सय ७५ जनाबाट संकलन गरेको १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ कृष्ण, दीपक, सीता र लालबहादुरबाट दामासाहीले भराउनू भन्ने पनि आदेश गरिन् ।
जाहेरवालाले ‘लालबहादुरबाट हामी ठगिएकै होइनौं, उनी निर्दोष छन् भन्दाभन्दै’ न्यायाधीश योङ्याको आदेशले भन्यो– ‘ठगिएको रकम लालबहादुरबाट समेत भराउनू ।’ यस्तो आदेशले लालबहादुरमाथि थप ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँको दायित्व थपेको छ ।
जिल्ला अदालतको फैसलाविरुद्ध लालबहादुरले सुनसरीका कानुन व्यवसायी निराजन ओझाको सहयोगमा विराटनगर उच्च अदालतमा पुनरावेदन दिएका छन् । गत मंसिर २१ मा उच्च अदालतमा पुनरावेदन गरेपछि लालबहादुर जेल पुगे । ‘अदालतले मागेको जरिवाना बराबरको रकम धरौटी राख्न सकेको भए उनले जेलमा नबसीकन पनि मुद्दा पुनरावेदन गर्न सक्थे,’ उनका कानुन व्यवसायी ओझाले कान्तिपुरसँग भने, ‘तर, धरौटी राख्ने रकम नभएका कारण उनी जेल बस्नुको विकल्प भएन । मुद्दाको पुर्पक्षका क्रममा साधारण तारिखमा छुटेको व्यक्तिलाई फैसलामा चर्को सजाय र जरिवाना गरेर अदालतले नै मारमा पार्‍यो ।’
लालबहादुरले पुनरावेदनमा आफू निर्दोष रहेको भनेर ‘उनी स्वयं, जाहेरवाला, प्रतिवादी र वस्तुस्थिति मुचुल्कामा बुझिएका सबै मानिसले बयान दिएको र आफूले ठगी गरेको, बैंकिङ र वित्तीय कारोबार गरेको तथा त्यसबाट लाभ लिएको कुनै पनि प्रमाण नभएको अवस्थामा कुन आधारमा अदालतले दोषी ठहर गरेको हो ?’ भन्ने प्रश्न गरेका छन् । ‘म निर्दोष नदेखिनाका प्रमाण के हुन् भनी सुनसरी जिल्ला अदालतको फैसलामा कतै पनि उल्लेख नगरी मलाई दोषी ठहर गरेको फैसला त्रुटिपूर्ण रहेको छ,’ निवेदनमा उल्लेख छ ।
िि
िमुद्दा उच्च अदालतमा पुगेपछि पनि सुल्झिएको छैन । अदालतमा प्राविधिक कारणहरूले मुद्दाले सुनुवाइको पालो नपाउँदा जिल्ला अदालतको ‘त्रुटिपूर्ण फैसला’ माथि समयमै परीक्षण हुन पाएको छैन । गत मंसिर २१ मा उच्च अदालतमा दर्ता भएको लालबहादुरको पुनरावेदनमाथि पहिलो सुनुवाइ नै पुस २६ मा भयो । सुनुवाइपछि न्यायाधीशहरू सत्यमोहन जोशी थारू र मुरारीबाबु श्रेष्ठको इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दियो । जसको अर्थ जिल्ला अदालतको फैसलामा कैफियत हुन सक्ने भएकाले उच्च अदालतले परीक्षण गर्न जरुरी देखिएको भन्ने हुन्छ । त्यसपछि माघ ३ मा उक्त मुद्दा सुनुवाइका लागि पेसी तोकियो । गोला प्रक्रियाद्वारा इजलास छनोट हुँदा राजनप्रसाद भट्टराई र मुरारीबाबु श्रेष्ठको इजलासमा पर्‍यो । श्रेष्ठले अघिल्लै सुनुवाइमा प्रत्यर्थी झिकाउने आदेश गरिसकेकाले उक्त मुद्दामा उनको ‘पोजिसन’ स्पष्ट भइसकेको थियो, जसका कारण उनले हेर्न मिलेन ।
त्यसपछि माघ २४ को पेसीमा यो मुद्दा न्यायाधीश थारू र रामबहादुर थापाको इजलासमा पर्‍यो । उही कारणले थारूले हेर्न मिलेन । फागुन १६ को पेसी न्यायाधीशहरू थापा र मिलन राईको इजलासमा परेको थियो । दुवै न्यायाधीशले मुद्दाको सुनुवाइ गर्न मिल्थ्यो । तर, गजमेर परिवारका वकिलहरूले त्यस दिनको सुनुवाइ नै स्थगित गरिदिए । गजमेर र लालबहादुरका मुद्दा एकसाथ सुनुवाइ भइरहेकाले उनीहरूले स्थगित गरेपछि लालबहादुरको मुद्दामा पनि सुनुवाइ हुन पाएन । अर्को पेसी चैत २८ मा न्यायाधीशहरू थारू र किरणकुमारी गुप्ताको इजलासमा पर्‍यो । फेरि हेर्न मिलेन । गत मंगलबार (वैशाख १९) को पेसी पनि न्यायाधीशहरू दिनेशप्रसाद यादव र श्रेष्ठको इजलासमा पर्‍यो । फेरि हेर्न मिलेन ।
विराटनगर उच्च अदालतमा जम्मा ८ न्यायाधीश कार्यरत छन् । उनीहरूमध्ये थारू र श्रेष्ठको संयुक्त इजलास बन्दा वा उनीहरू संलग्न अन्य कुनै पनि इजलासमा यो मुद्दा पर्दा हेर्न मिल्दैन । दिलकुमारी भने यी ५ वटै पेसीमा सधैं सुनुवाइ र त्यसपछि सफाइको आस लिएर इटहरीबाट विराटनगर पुगिन् । तर, सधैं उस्तै निराशासाथ फर्किइन् । ‘कुनै गल्ती नगर्दा पनि मेरो श्रीमान्मथि किन यस्तो अत्याचार भइरहेको छ ? हामी कहाँ जाऔं, कसलाई भनौं ?’ उनको प्रश्न छ, ‘यो देशमा गरिबले न्याय नै नपाउने हो त ?’

Page 3
समाचार

खेर गइरहेछ कर्णालीको पानी

- कृष्णप्रसाद गौतम,ज्योति कटुवाल

(सुर्खेत)
जरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारमा छ– कुदुफाँट । यहाँ करिब एक हजार घरधुरीको बसोबास छ । तर, सय मिटर टाढाको नदीबाट स्थानीयले कुनै सुविधा लिन सकेका छैनन् । ‘सिँचाइ न खानेपानी,’ स्थानीय अम्बिकाप्रसाद आचार्यले भन्छन्, ‘नजिकै बगेको भेरी हेरेर चित्त बुझाउनुपरेको छ, पुस्तौंदेखि खानेपानी समस्या भोगिरहेका छौं ।’
गाउँमा खानेपानी ल्याउनेलगायत एजेन्डा अघि सारेर राष्ट्रिय पञ्चायत सदस्य जितेका तेजविक्रम शाह सहायक मन्त्रीसम्म बने । छोरा गोविन्दविक्रम जिल्ला विकास समितिको सभापति र प्रतिनिधिसभा सदस्य भए । उनले पनि कुदुवासीलाई पटकपटक खानेपानीकै आश्वासन दिए तर समस्या उस्तै छ । पानीका नाममा पुस्तौंदेखि राजनीति भइरहेको स्थानीय बताउँछन् ।
पानी उपभोग गर्न नपाउने कुदुवासी मात्र होइनन्, कर्णालीका अन्य जिल्लावासीले पनि वर्षौंदेखि यस्तैखाले पीडा भोगिरहेका छन् । कर्णालीमा जलस्रोतको अथाहा सम्भावना छ । तर स्थानीयले खानेपानी, सिँचाइ र बिजुलीको अभाव भोगिरहेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले जलस्रोत उपभोगको स्पष्ट नीति र योजना बनाएर कार्यान्वयन गर्न नसक्दा पलपलमा पानी खेर गइरहेको छ ।
कर्णालीमा झन्डै २६ प्रतिशत हिम क्षेत्र छ, जहाँका १ हजार ४ सय ५९ हिमनदी (नदीनाला) ले १ हजार २३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेका छन् । प्रदेश योजना आयोगका अनुसार नेपालको सबैभन्दा लामो नदी कर्णालीको ५ सय किलोमिटर लम्बाइमध्ये झन्डै ६० प्रतिशत भाग कर्णालीमा प्रदेशमा पर्छ । कर्णाली प्रदेशमै २ सय ६४ किलोमिटर लामो भेरी, ६८ किलोमिटर लामो तिलाको पानी पनि खेर गइरहेको जल तथा ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेलले बताए । प्रदेश सरकारले उपयुक्त जलनीति बनाएर कर्णालीको पानीको संरक्षण गर्न जरुरी रहेको उनले बताए ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार कर्णालीका ३५.६४ प्रतिशत बासिन्दाको पहुँचमा मात्र खानेपानी सुविधा छ । त्यसमध्ये करिब ९६.५ प्रतिशत परिवारमा पानीको स्वच्छता परीक्षण हुन सकेको छैन । ३ लाख ६६ हजार ३७ घरधुरीमध्ये १ लाख ३० हजार ४ सय ६५ घरमा मात्र व्यवस्थित खानेपानी योजनामार्फत खानेपानी पुगेको छ । बाँकी २ लाख ३५ हजार घरमा वैकल्पिक स्रोतबाट खानेपानी उपभोग गर्नुपर्ने बाध्यता छ । ४ हजार २ सय ७६ घरपरिवारले अझै पनि बाह्रै मास खोलाको पानी प्रयोग गरिरहेका छन् । स्वच्छ खानेपानीको सुविधा नहुँदा जनताले स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपरेको जनस्वास्थ्य क्षेत्रमा कार्यरतहरू बताउँछन् । ‘अरू सुविधा त परको कुरा यहाँका बासिन्दाले स्वच्छ पानी पनि पिउन पाउँदैनन्,’ पोषणविज्ञ हरि देवकोटाले भने, ‘स्वच्छ खानेपानीले बाल मृत्युदर र मातृ मृत्युदर घटाउनु साथै औसत आयु बढाउन मात्रै होइन, झाडापखाला, हैजा, टाइफाइड, आउँजस्ता पानीजन्य रोगव्याधि नियन्त्रण गर्न सहयोग पुग्छ ।’
सल्यानको कालीमाटी गाउँपालिका–७, घुइयाँबारीका ५५ वर्षीया भोलाप्रसाद बुढाको घर नजिकैबाट बबई नदी बग्छ । बबईको ४०/५० मिटर दूरीमा उनको २ बिघा खेत छ । तर सिँचाइ सुविधा नहुँदा हिउँदमा खेत बाँझै हुन्छ । झन्डै ५० घरधुरी रहेको गाउँमा गर्मीयाम सुरु भए सधैं खानेपानीको हाहाकार हुने उनले बताए । ‘यही नदी देखाएर नेताहरू पानी, बिजुली र सिँचाइ ल्याउँछौं भनेर राजनीति गर्छन्,’ उनले भने, ‘सिँचाइ अभावमा आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्दैन ।’
कर्णालीको २ लाख ९९ हजार ३ सय ३९ हेक्टर खेतीयोग्य जमिनमध्ये ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ । यसले गर्दा कर्णालीले बर्सेनि खाद्य परनिर्भरताको पीडा भोग्नुपरेको छ । प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायका अनुसार १६ लाख ८९ हजार ४ सय १२ जनसंख्या भएको कर्णालीमा वार्षिक २५ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । कर्णाली प्रदेशमा ३ लाख ५२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा ३ लाख २६ हजार मेट्रिक टन उत्पादन हुने गरेको उनले जानकारी दिए ।
कर्णालीमा पानी उपयोग गर्न ठूला योजना अघि सारिए पनि लामो समयदेखि अलपत्र छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा पर्याप्त खानेपानी सुविधा पुर्‍याउन भेरी पम्पिङ आयोजनाका लागि विश्व बैंकले झन्डै ६ अर्ब रुपैयाँ सुनिश्चित गरे पनि विस्तृत इन्जिनियरिङ डिजाइन, प्रारम्भिक वातावरण परीक्षण (आईई) लगायत अध्ययन पूरा नहुँदा योजनाको काम पटकपटक धकेलिएको छ । भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ । संघीय सरकारले अघिल्लो वर्ष २ करोड र गत आर्थिक वर्ष ६ करोड रुपैयाँ छुट्याएको थियो । गत वर्ष प्रदेश सरकारले छुट्याएको ५० करोड रुपैयाँ पनि कामै नभई फिर्ता गएको थियो ।
शुद्ध खानेपानीको चर्को अभाव र पानीको स्रोत खेर गइरहेको अवस्थामा सरकारले बजेट भने निकै कम विनियोजन गर्ने गरेको छ । यसले गर्दा भएका योजना अलपत्र पर्ने र नयाँ योजना सुरु हुन नसक्ने अवस्था देखिन्छ । प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार बजेट अभावमा कर्णालीमा झन्डै १ हजार ६ सय खानेपानी योजना अलपत्र परेका छन् । सरकारले जनसंख्यालाई प्रमुख आधार मानेर बजेट विनियोजन गर्दासमेत खानेपानी क्षेत्रमा निकै कम बजेट पर्ने गरेको सरोकारवाला निकायको भनाइ छ । प्रदेश योजना आयोगका अनुसार यो वर्ष खानेपानीमा झन्डै ९० करोड रुपैयाँ विनियोजन भएको छ । वितरणमूखी बस्ती नहुनु, भौगोलिक विकटता, अव्यवस्थित सडक, जलवायु परिवर्तन, वन विनाश, बस्तीमाथि र मुहान तल हुनुलगायत कारण कर्णालीमा खानेपानी समस्या विकराल रहेको आयोगका सूचना अधिकारी भीमनारायण खरालले बताए ।
कर्णालीका नदीमा माछापालन र पर्यटनको पनि ठूलो सम्भावना छ । हिमाली भेगमा ट्राउट तथा पहाडी भेगमा कार्प जातको माछापालन उपयुक्त हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष गरेको अध्ययनमा उल्लेख छ । ‘जलस्रोतबाट विद्युत्, सिँचाइजस्तै मत्स्यपालन उद्योगको पनि विकास गर्न सकिन्छ,’ कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले भने, ‘यहाँका करिब ५० हजारलाई रोजगारी दिएर मत्स्यपालन गर्न सकिने अवस्था छ, त्यो पनि समृद्धिको एउटा आधार हो ।’
यहाँका नदी र्‍याफ्टिङ र अन्य साहसिक पर्यटनका लागि महत्त्वपूर्ण मानिएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले बताउँछन् । उनका अनुसार बर्दियाको चिसापानी नपुग्दासम्म कर्णाली नदीको कुनै उपयोगिता भएको छैन । ‘यहाँको भेरी र कर्णालीका शाखा नदीलाई उपभोग गरेर मात्र कर्णालीमा वार्षिक कम्तीमा ५ लाख पर्यटक भित्र्याउन सकिने सम्भावना छ,’ उनले भने, ‘त्यसले कर्णालीलाई आर्थिक समृद्धिको मार्गमा डोर्‍याउन सहयोग पुर्‍याउँछ । जैविक विविधता र नदी सभ्यता जोगाउन पनि मूल नदीलाई जोगाएर शाखा नदीको उपयोग गर्न जरुरी छ ।’
प्रदेश योजना आयोगका अनुसार कर्णालीमा पानीले ओगटेको भूभाग ०.१८५ प्रतिशत र हिम क्षेत्र २६.५ प्रतिशत छ । पानी संरक्षण अभियन्ता युवराज कँडेल जीवजन्तु एवं वनस्पतिको विविधताका लागि सिमसारले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताउँछन् । भूमिगत जलस्रोत र पानीका अन्य स्रोत कायम राख्न, पहिरो रोकथाम गर्न र पोषकतत्त्वको चुहावट रोक्न सिमसारको भूमिका भए पनि संरक्षण अभाव र मानवीय गतिविधि नियन्त्रण नहुँदा कर्णालीको सिमसार क्षेत्र मासिँदै गएको उनको भनाइ छ ।
नेपालको सबैभन्दा ठूलो रारा ताल र सबैभन्दा गहिरो शे–फोक्सुन्डो तालको पनि भरपुर उपयोगिता हुन सकेको छैन । फाटफुट रूपमा पुग्ने पर्यटककै भरमा बृहत् सम्भावना बोकेका यी ताल सीमित छन् । ‘रारामा पनि पर्यटक पुर्‍याउनै मुस्किल छ, पोखराको फेवाताल पुगेका २ प्रतिशत पर्यटक मात्र मुस्किलले रारा ताल पुगिरहेका छन्,’ आले भन्छन्, ‘सडक र पर्यटकीय पूर्वाधार नहुँदा रारा गएका पर्यटक २ दिनभन्दा बढी त्यहाँ बस्दैनन् ।’ रारा राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्षमा रारामा करिब ४ हजार २ सय आन्तरिक र ८४ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । शे–फोक्सुन्डो तालमा जाने पर्यटकको संख्या भने स्थानीय र प्रदेश सरकारका कुनै निकायसँग छैन ।

क्षमता १८ हजार, उत्पादन १० मेगावाट
आफ्नै प्रदेशमा विद्युत् उत्पादन नहुँदा कर्णालीवासी लामो समयदेखि अनियमित लोडसेडिङ र न्यून भोल्टेजको समस्या भोग्न बाध्य छन् । लगानी प्रवर्द्धन तथा सम्भाव्यताका लागि नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्यांकअनुसार कर्णालीका नदीनालाबाट करिब १८ हजार मेगावाट विद्युत् निकाल्न सकिन्छ । तर १०.७० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये ठूला योजना दैलेखको पदमखोलाले ४.८ मेगावाट र द्वारीखोलाले ३.७५ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् ।
कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार झन्डै १८ हजार मेगावाट बिजुली निकाल्न सकिने नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका सहायक निर्देशक पूर्णबहादुर नेपालीले बताए । उनका अनुसार दैलेखबाट ८.५५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अन्य जिल्लामा एक मेगावाटभन्दा कमका आयोजना छन् । अहिले हुम्लामा ०.५० मेगावाट, मुगु र कालीकोटमा ०.४० मेगावाट, जुम्लामा ०.२० मेगावाट र रुकुम पश्चिममा ०.३५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ९ सय मेगावाटको माथिल्लो कर्णाली, ४ सय ३९ मेगावाटको बेतन कर्णाली, ४ सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका अनुसार ४ हजार ५ सय ४१ मेगावाट बराबरका १९ आयोजनाले सर्वेक्षण, २६ मेगावाटका ४ आयोजनाले उत्पादन अनुमतिपत्र, १ हजार ९१ मेगावाट बराबरका ७ आयोजनाले सर्वेक्षण अनुमतिपत्रका लागि दरखास्त दिएका छन् ।
कर्णालीमा बन्न लागेका अधिकांश ठूला विद्युत् आयोजना अलपत्र छन् । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी जीएमआरले अहिलेसम्म लगानी जुटाउन सकेको छैन । जाजरकोटस्थित ४ सय १० मेगावाटको नलगाढ जलाशययुक्त आयोजनामा डीपीआरको कामसमेत सकिएको छैन । ६ सय ८८ मेगावाटको बेतन कर्णाली आयोजनाको काम पनि लामो समयदेखि सुस्त छ । भेरीलाई डाइभर्सन गरेर बबई नदीमा खसालेर यहाँको पानी लुम्बिनी प्रदेशमा लैजाँदा ठूलो असर पर्ने देखिएको अभियन्ता युवराज कँडेलले बताए ।
कर्णालीमा ६७ प्रतिशत नागरिक अहिले पनि टुकी र सौर्य ऊर्जाको भरमा रहेको प्रदेश योजना आयोगको तथ्यांक छ । ३३.३९ प्रतिशत (५ लाख ६१ हजार) नागरिक मात्रै विद्युत्को प्रत्यक्ष पहुँचमा छन् । ‘जबसम्म सबै घरधुरीमा बिजुली पुग्दैन, तबसम्म कर्णालीको सबै पूर्वाधार विकास अधुरै हुन्छ,’ आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायाले भने, ‘बन्न लागेका ३/४ वटा ठूला विद्युत् आयोजनाले पूर्णता पाए भने पनि कर्णाली बिजुली बेचेरै आत्मनिर्भर बन्न सक्छ ।’

समाचार

हेर्दाहेर्दै खस्यो हेलिकोप्टर

- दीपेन्द्र शाक्य

(संखुवासभा)
भोटखोला गाउँपालिका–४ हटियाकी कोपिला गुरुङ शुक्रबार छोङग्राङमा हेलिकोप्टरले सामान झुन्ड्याइरहेको हेरिरहेकी थिइन् । गाउँघरमा हेलिकोप्टरले सामान बोकेर आउँदा हेर्नेको भीड लाग्छ । सामान ओसारपसारमा सहयोगीका रूपमा काम गर्थे कोपिलाका श्रीमान् भविन ।
अवतरण गर्ने क्रममा भित्तामा पखेटा ठोक्किएर हेलिकोप्टर दुर्घटना भयो । कोपिला दुर्घटनाको प्रत्यक्षदर्शी बनिन् । छोङग्राङबाट दुर्घटनास्थल सिप्रुङ नजिकै पर्छ । दुर्घटना भएको हेलिकोप्टरमा कोपिलाका श्रीमान् भविन पनि थिए । हेलिकोप्टर दुर्घटनामा परी घाइते भविनलाई अर्को हेलिकोप्टरबाट सदरमुकाम खाँदबारी ल्याइयो । दुर्घटनामा परेका श्रीमान्को
अझै सास बाँकी छ भन्ने आसमा कोपिला थिइन् । तर आफन्तले भविन जीवित छैनन् भन्ने जानकारी गराए । खाँदबारी आफन्तको घरमा रहेकी कोपिला श्रीमान्को मृत्युको खबरले बेहोस भइन् ।
भोटखोला सडक सञ्जालसँग जोडिएको छैन । खाँदबारीबाट ८२ किलोमिटर वर वरुण नदीसम्म मात्र गाडी पुग्छ । यहाँ निर्माणाधीन अपर अरुण जलविद्युत् आयोजनाले सिम्रिक एयरको हेलिकोप्टरबाट सामान ढुवानी गरिरहेको थियो । यही क्रममा शुक्रबार दिउँसो १ः१० बजे भोटखोला–४ हटियाको सिक्प्रुङको हम्मरे डाँडामा पहिले रूखमा र त्यसपछि भित्तामा ठोक्किएर हेलिकोप्टर बजारियो ।
उक्त दुर्घटनामा एक जनाको मृत्यु भयो भने चार जना गम्भीर घाइते छन् । दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले बताए ।
क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते छन् । घाइते सबैलाई उद्धार गरेर काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पुर्‍याएको छ ।
दुर्घटना भएको सिम्रिकको हेलिकोप्टर बिहीबार काठमाडौंबाट खाँदबारी प्रहरी कार्यालयमा अवतरण भई उत्तरी गोलातर्फ बेलुकी गएको थियो । त्यहाँ शुक्रबार बिहानदेखि विद्युत्का सामान ओसार्न सटल उडान गर्दै आइरहेको थियो । दुर्घटनामा सकुशल रहेका पाइलटसँग नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बयान लिई घटना बारेमा अनुसन्धान गरी दुर्घटनाको कारण चाँडै सार्वजनिक गर्ने जनाइएको छ ।

समाचार

सिम्रिक एयर ग्राउन्डेड

- कान्तिपुर संवाददाता


काठमाडौं– सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका सबै हेलिकोप्टरलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि ग्राउन्डेड गरिदिएको छ । प्राधिकरणको सेफ्टी विभागले सिम्रिकका सबै हेलिकोप्टरको विस्तृत निरीक्षण, वायुयानको उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गर्ने जनाउँदै शुक्रबार उक्त कम्पनीलाई ग्राउन्डेड गरिएको बारे पत्र पठाएको छ । सिम्रिक एयरसँग चार वटा हेलिकोप्टर थिए । तीमध्ये एउटा शुक्रबार संखुवासभामा दुर्घटनामा परेपछि अब तीन वटा मात्र बाँकी छन् ।

Page 4
समाचार

मिटरब्याजीलाई ७ वर्षसम्म कैदको प्रबन्ध

- कान्तिपुर संवाददाता

(काठमाडौं)
मिटरब्याजीलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन बनेको छ । सरकारले चारवटा प्रचलित ऐनलाई संशोधन गरी मिटरब्याजलाई अपराधीकरण गर्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेशले मुलुकी अपराध संहिता र देवानी संहिता तथा अपराध र देवानी कार्यविधि संहिता संशोधन गरेको हो । शुक्रबार राजपत्रमा प्रकाशित अध्यादेश तुरुन्त लागू हुनेछ ।
अध्यादेशलाई संसद्को अधिवेशन बसेको ६० दिनभित्र दुवै सदनले पारित गर्नुपर्नेछ । अध्यादेशमा ‘मिटरब्याज’ लाई अनुचित लेनदेन नामकरण गरिएको छ र कसैले पनि अनुचित लेनदेन गर्न/गराउन नहुने उल्लेख छ । लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढी लिखत तयार गर्ने, लेनदेन गर्दाकै बखत ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्नेलगायत कामलाई ‘अनुचित लेनदेन’ का रूपमा परिभाषित गरिएको छ । ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गर्ने, ऋणीले बुझाएको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की, हिंसा वा शोषण गर्ने र अनुचित लेनदेनका आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने कार्यलाई पनि अध्यादेशले रोक लगाएको छ । यस्ता कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान अध्यादेशमा छ ।
अध्यादेशले गरेको संशोधन लागू हुनुअघि भएका कारोबारका आधारमा कसैले ऋणीलाई अनुचित लेनदेनको रकम असुलउपर गर्न, हैरानी पुर्‍याउन पनि रोक लगाइएको छ । अनुचित लेनदेन गर्ने व्यक्तिले त्यस्तो लेनदेनका आधारमा ऋणीबाट रकम वा कुनै अन्य चल सम्पत्ति लिएको रहेछ भने सम्बन्धित ऋणीलाई फिर्ता गर्नुपर्ने प्रावधान पनि अध्यादेशमा छ । ‘अनुचित लेनदेनका आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुनेछ,’ अध्यादेशमा भनिएको छ । घरायसी लेनदेन व्यवहारका लागि लिखत तयार पार्दा साहु र ऋणीको कम्तीमा एक/एक जना साक्षीको नाम, थर र ठेगाना लिखतमा उल्लेख गर्नुपर्ने प्रावधान पनि छ । साहुले अस्वाभाविक रूपमा ठूलो रकम घरसारमा ऋण दिएको देखिएमा प्रचलित कानुनबमोजिम सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाही चलाइने व्यवस्था पनि अध्यादेशमा छ ।
मधेश प्रदेशका मिटरब्याजपीडितहरू न्याय खोज्दै पैदलै काठमाडौं आएर धर्ना दिएपछि सरकारले कानुन संशोधनको सम्झौता गरेको थियो । त्यहीअनुसार सरकारले अध्यादेश ल्याएर कानुन संशोधन गरेको हो । संशोधित कानुनका व्यवस्था आगामी दिनमा हुने मिटरब्याजसम्बन्धी कसुरमा मात्र आकर्षित हुनेछन् । तर, यसअघि नै भइसकेका यस्ता कसुरका पीडकलाई कानुनबमोजिम कारबाहीको सिफारिस गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजक र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सदस्य रहेको आयोगले जनकपुरमा आफ्नो कार्यालय स्थापना गरेर काम थालिसकेको छ ।
नभएको रकम लिएर दिएको भनी लिखत तयार गरेको, वास्तविक रकमभन्दा बढी रकमको लिखत बनाएको, लेनदेन गर्दाकै बखतमा ब्याजसमेत साँवामा जोडेको, ऋणीले तिरेको रकमको भर्पाइ नदिएको, कानुनमा तोकिएभन्दा बढी ब्याज लिएको जस्ता विषयमा उजुरी लिएर छानबिन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न आयोगलाई कार्यादेश छ । साथै, अनुचित लेनदेनसँग सम्बन्धित कानुनी तथा प्रशासनिक रूपमा सम्बोधन गर्नुपर्ने अन्य विषय, पीडकलाई प्रचलित कानुनबमोजिम कारबाही र सजाय तथा पीडितलाई दिइने उपचार सिफारिस, अनुचित लेनदेन हुनुका कारण पत्ता लगाई आगामी दिनमा त्यस्ता घटना हुन नदिन सुधारका उपायका सम्बन्धमा पनि सिफारिससहितको प्रतिवेदन पेस गर्न आयोगलाई भनिएको छ ।
तराईका विभिन्न जिल्लाबाट आएका पीडितहरूले काठमाडौंमा धर्ना जारी राखेका छन् । नवलपरासी, महोत्तरी, सर्लाहीलगायत जिल्लाबाट दोस्रो चरणमा आएका उनीहरूको धर्ना शान्ति बाटिकामा जारी छ । मिटरब्याजपीडतले दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने माग गर्दै आएका छन् ।

समाचार

मूलढोकामा मिटरब्याजीको ताला, घरधनी सडकमा

- लक्ष्मी साह

(बारा)
महागढीमाई नगरपालिका–३ गन्जभवानीपुरका विनोद महरा चमारले २०७४ मा छिमेकी राधामोहन कलवारबाट १० लाख रुपैयाँमा १० धुर घडेरी खरिद गरे । ७ लाख तिरेर ३ लाख बाँकी राखी कित्ता नम्बर १२२३, १२२४ र १२३० को घडेरी राधामोहनकै नाममा अमानतमा राखे । ३ लाख बाँकीकै कारण विनोदका नाममा जग्गा पास भएन ।
एक वर्षपछि जग्गाधनी राधामोहनले बाँकी ३ लाख रकम माग्दै ताकेता गर्न थालेपछि विनोदले पचरौता नगरपालिका–७ बेनौलीका शिवजीप्रसाद साह कलवारसित १२ लाख ऋण लिए । ३ लाखको ब्याज जोडेर राधामोहनलाई फर्काए । बचेको रकम, छिमेकीसित सापट र लघुवित्तबाट ऋण लिएर विनोदले घडेरीमा पक्की घर बनाएर बस्न थाले । पछि उनले राधामोहनसित खरिद गरेको अमानतमा रहेको घडेरी भने शिवजीको नाममा २०७७ असोजमा पास गराइदिए । घडेरी पास गरेपछि विनोदले शिवजीसित थप ५ लाख ऋण लिए । यति गरेर कुल ऋण १७ लाखको साँवा/ब्याज किस्तामा तिर्न थाले । साढे २ वर्षयता किस्तामै शिवजीलाई १४ लाख तिरिसकेको विनोदको भनाइ छ । १७ लाख ऋण दिएर घडेरी नाममा गराएको बाहेक शिवजीले विनोदका ससुरा बिजुली महरासित चेकमा सही गराएर रकम लिनुका साथै खाली चेक पनि लिएका छन् । ५० लाखको तमसुक पनि बनाउन लगाएका छन् ।
घडेरीमा विनोदले पक्की घर बनाएर बस्न थालिसकेकाले शिवजीले मासिक ६ हजार घर भाडा तिर्ने गरी करारनामासमेत बनाउन लगाएका छन् । २०७७ असोज २२ मा तीन वर्षका लागि करारनामा गरिएको हो । त्यसबेला शिवजीले घडेरी आफ्नो नाममा पास गराइसकेका थिए । करारनामामा बिजुली र पानीको रकम दुवै पक्षले तिर्ने सर्त छ ।
विनोदले शिवजीलाई सकेजति साँवाको किस्ता र ब्याज तिर्दै गए । ३ हजारदेखि २ लाखसम्म गरी पटकपटक १४ लाखसम्म तिरिसकेको भर्पाई आफूसित राखेको विनोदको भनाइ छ । आफूले तिरेको साँवाब्याजको भर्पाई शिवजीले डायरीमा सहीछाप गरी बुझेर दिएको उनले बताए । ‘तर शिवजीले ब्याजको ब्याज जोड्दै गएकाले मोटो रकम पुगेपछि ६५ लाखमा घडेरी र घर बिक्री गरिदिने भन्दै धम्काउँदै आएका छन्,’ उनले भने, ‘घरमा ताला लगाइदिएका छन्, घर बिक्री गर्न अरूबाट बैना पनि लिइसकेका छन् । घरमा लगाएको तालाको साँचो उनको हातमा छ, हामी ५ जना एक वर्षदेखि सडकमा छौं ।’ घरको साँचो माग्दा शिवजीले घरी ३५ लाख, घरी ५० लाख देऊ अनि साँचो दिन्छु भन्ने गरेको विनोदले बताए । अहिले उनीहरू निजगढमा मजदुरी गरेर गुजारा चलाइरहेका छन् । शुक्रबार सन्तानसहित झोला बोकेर गाउँ पुग्दा उनको घरको मूल ढोकामा मिटरब्याजीको ताला लागिरहेको थियो ।
ऋण दिने शिवजी महागढीमाईभन्दा २० किमि दक्षिणी गाउँ बेनौलीका बासिन्दा हुन् । ‘बाँकी ऋण तिर्न तयार छौं तर घरमा बस्न दिनु भन्दा मानेका छैनन्,’ विनोदकी पत्नी संगीताले भनिन् । लेखपढ गर्न नसक्ने विनोद डकर्मी (पक्की घर बनाउने) काम गर्छन्, संगीताले भने एसएलसीसम्म पढेकी छन् । उनीहरूका २ छोरी र १ छोरा छन् । मिटरब्याजविरुद्धको उजुरी फाराम जिल्ला प्रशासन कार्यालयबाट लिएको र बिदा परेकाले प्रशासनमा उजुरी गर्न नसकेको उनले बताइन् । अब कानुनी उपचारमै जाने उनको भनाइ छ ।

Page 5
अर्थ वाणिज्य

'चालु खर्च कटौती गर्नू, आयोजना नथप्नू’

- विमल खतिवडा

(काठमाडौं)
पूर्वअर्थमन्त्रीहरूले आगामी बजेटमार्फत अनावश्यक खर्च कटौती र नयाँ आयोजना नथप्न सुझाएका छन् । आर्थिक वर्ष ०८०/८१ को बजेट तयारीसम्बन्धमा अर्थमन्त्री प्रकाशरण महतले शुक्रबार बोलाएको छलफलमा उनीहरूले व्यावहारिक बजेट तयार गर्न र खर्च कटौतीमा निर्मम बन्नुपर्नेमा जोड दिए ।
आगामी बजेट यथार्थपरक र उत्साह जगाउने हुनुपर्ने पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुझाए । ‘अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ,’ उनले भने, ‘आगामी बजेटले आशा जगाउने काम गर्नुपर्छ ।’ जहिले पनि बजेटमा मल, बीउ अभाव हुन दिन्नौं भनिए पनि हरेक समयमा मल अभाव भइरहेको उनको भनाइ छ । अहिले विकास खर्चको अवस्था दयनीय रहेकाले यसको खर्च बढाउनुपर्ने उनले बताए ।
‘निजी क्षेत्रको मनोबल खस्किएको छ, पुँजी निर्माणमा उनीहरूको भूमिका ८० प्रतिशत रहन्छ,’ उनले भने, ‘त्यसैले निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट आउनुपर्छ ।’ बिदेसिने युवा जनशक्तिको संख्या बढिरहेका बेला उनीहरूलाई देशमै बसेर काम गर्ने वातावरण बनाउनुपर्ने पनि उनले सुनाए । ‘विकास खर्च बढाउन अनावश्यक खर्च कटौती गर्नुपर्छ,’ उनले भने, ‘कृषि, पर्यटन र ऊर्जा क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्छ ।’
अर्थतन्त्रका सबै सूचक ऋणात्मक छन् । यस्तो अवस्थामा चालु खर्चमा कटौती गर्ने गरी बजेट ल्याउन सकियो भने त्यसले दीर्घकालीन प्रभाव पार्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् । ‘वैशाख १५ सम्म ४९ प्रतिशत राजस्व उठेको छ, चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य राखिएको थियो । तर राष्ट्रिय तथ्यांक कार्यालयले आधारभूत मूल्यमा २.१६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । २ खर्ब ४२ अर्ब विदेशी ऋण आउने भनिएकामा ४५ अर्ब रुपैयाँ मात्र आएको छ,’ उनले भने, ‘त्यसैले अर्थतन्त्रका प्रायः सबै सूचक नकारात्मक छन् ।’ गत दुई वर्षको तुलनामा यस वर्ष राजस्व कम उठेको पाण्डेले जनाए । तर रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति केही बढेको उनको भनाइ छ ।
‘यस्तो अवस्थामा चालु खर्च एकदमै बढेर गएको छ, पुँजीगत खर्च वैशाख १५ सम्म करिब ३१ प्रतिशत मात्र छ,’ उनले भने, ‘त्यसैले आगामी बजेटमा सक्दो खर्च कटौती गरौं, सामाजिक सुरक्षा भत्ता संघले दिएकामा प्रदेश, स्थानीय तहबीच थपेर दिने होड रोकौं ।’ संघ, प्रदेश, स्थानीय तहमा अनावश्यक रूपमा ठूला संरचना बनाउन आवश्यक नभएको उनको भनाइ छ । ‘प्रदेश र स्थानीय तहको सबै आम्दानी संघको सहायतामा निर्भर छ, तर खर्च धेरै छ,’ उनले भने, ‘अनाश्यक गाडी किन्ने मात्र होइन, पालिकाका भवनसमेत सिंहदरबार जत्रा ठूला छन् । यी सबै विषयको नियन्त्रण हुनुपर्छ ।’ अहिलेको अवस्थामा मापदण्ड बनाएर यस्ता कार्यलाई नियन्त्रण गर्न जरुरी रहेको उनले सुनाए । ‘अब मौद्रिक क्षेत्रमा केही खुकुलो होऊँ,’ उनले भने, ‘तर बजेटको आम्दानी र खर्चमा कँसिलो नीति लिऊँ ।’
मुलुक आर्थिक मन्दीको बाटोमा रहेकाले आगामी बजेटले कार्यान्वयन गर्न सकिने मात्र योजना ल्याउनुपर्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलको भनाइ छ । ‘तथ्यांक कार्यालयले प्रकाशन गरेको तथ्यांकले मुलुक आर्थिक मन्दीमा गएको पुष्टि गरिसकेको छ, राजस्व संकलन घट्दो छ,’ उनले भने, ‘यस्तो अवस्थामा बजेटको आकार र कार्यक्रम वास्तविक हुनुपर्छ ।’
मन्दीमा गएको अर्थतन्त्रलाई उकास्न अर्थतन्त्रका सबै आयामलाई साथमा लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । ‘बजेट सबैको मनोबल उठाउने खालको हुनुपर्छ, यसले खर्च र अनावश्यक संरचना निर्माण कटौती गर्नुपर्छ,’ उनले भने । अघिल्लो आर्थिक वर्षको पहिलो–दोस्रो त्रैमासिक र यो वर्षको पहिलो–दोस्रो त्रैमासिकको तुलना गर्दा दुवैको आर्थिक वृद्धिदर ऋणात्मक रहेको उनले जनाए । ‘यस्तो अवस्थालाई विश्वव्यापी आर्थिक मन्दीको संकेत मानिन्छ,’ उनले भने, ‘त्यसैले मुलुक आर्थिक मन्दीमा गयो भन्ने वास्तविक कुरालाई स्विकार्दै कार्यान्वयन गर्न सकिने खालको बजेट मात्र ल्याइनुपर्छ ।’
नेपालको आर्थिक अवस्था सुधार्न नेतृत्व गर्ने पात्र, शासकीय संरचना, पद्धति र प्रक्रिया— यी चारै बुँदामा सुधार नगरी बजेटमा सुधार सम्भव नरहेको पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी बताउँछन् । ‘अहिले जसले जे गरे पनि हुने भएको छ, यसमा सुधार गर्ने अठोट नगरी बजेट वक्तव्यले मात्र केही परिवर्तन गर्दैन,’ उनले भने, ‘नेपालमा उत्पादनमूखी अर्थतन्त्र नभएर वित्तीय अर्थतन्त्रले मात्र व्यापकता पाएको छ ।’ यसलाई कम गर्न साधारण खर्चमा नियन्त्रण गरी उत्पादनमूलक विकास खर्चमा व्यापकता ल्याउनुपर्नेमा उनको जोड छ ।
बजेटको आकार सीमित छ । राजस्वका आधार खुम्चिने, विश्व अर्थतन्त्र पनि ठीक नरहेको अवस्थामा स्वाभाविक रूपमा चालु वर्षको बजेट कार्यान्वयन हुने स्थिति छैन । यसैलाई आधार बनाएर आगामी वर्षको बजेट बनाउँदा कुनै पनि अंक प्राप्त हुँदैनन् ।
बजेट कार्यान्वयनका लागि ठूलो आकारको बजेट हास्यास्पद बनिरहेको र बजेट अनुमानभन्दा संशोधित अनुमान २ खर्ब अर्थात् १५ प्रतिशत संशोधन गर्नुपर्ने अवस्था छ । यसले बजेटको विश्वसनीयता गुमिरहेको पूर्वअर्थमन्त्री युवराज खतिवडाको भनाइ छ । अर्कोतिर आयोजनामा स्रोत सुनिश्चितता गर्नुपर्ने र बीचमा रकमान्तर गर्ने काम रोक्नुपर्ने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ । सामाजिक सुरक्षामा तीन तहको सरकारको होडबाजी अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘बहालवाला अर्थमन्त्रीले छाडेर अर्को अर्थमन्त्री आउँदा उनले गाली खाने गरी बजेट नल्याइदिए पुग्छ,’ उनले भने । अघिल्ला अर्थमन्त्रीको बोकाएको बजेटको ‘भारी’ अर्को अर्थमन्त्रीले बोक्नुपर्ने बाध्यता हुन नहुने पनि उनले बताए ।
अर्थमन्त्री महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा रहेको जनाए । ‘पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्याउने र निजी क्षेत्रको आत्मविश्वास बढाउने बजेट ल्याउने मेरो प्रयास हुनेछ ।’ प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सकिने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

अर्थ वाणिज्य

गौतम बुद्ध विमानस्थल सञ्चालन गर्न दबाब

- सन्जु पौडेल

(लुम्बिनी)
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायीले निरन्तर दबाब दिन थालेका छन् । विमानस्थल खुला भएको लामो समयसम्म उडान नियमित नभएपछि एक महिनादेखि उनीहरूले दबाबका कार्यक्रम गरिरहेका छन् । शुक्रबार पनि उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन बुझाएर विमानस्थल पूर्ण क्षमतामा छिटो सञ्चालन गर्न दबाब दिए ।
२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्रीसित भेटेर संघले ज्ञापन बुझाउँदै विमानस्थल सञ्चालनको माग गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमध्ये २५ प्रतिशत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने व्यवस्था मिलाउनसमेत संघको आग्रह छ । गौतमबुद्ध विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान–अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकामा त्यो छुट एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्नेमा व्यवसायीको जोड छ । साथै विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग पनि गरिएको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
विमानस्थलमा अहिले कुवेतको जजिरा एयरलाइन्सले मात्र उडान गरिरहेको छ । जजिराले पनि दुई साताका लागि भन्दै उडान रोकेपछि यहाँका उद्योगी व्यवसायी चिन्तित छन् । विमानस्थललाई लक्ष्य गरेर जिल्लामा ठूलो लगानी भइसकेको जनाउँदै उनीहरूले पूर्ण क्षमतामा चलाउनुपर्ने माग गरिरहेका हुन् । स्थानीय सरोकारवालाले नेपाल एयरलाइन्सले यहाँबाट उडान गर्नुपर्ने माग गरिरहेका छन् । विमानस्थल चलाउन स्थानीय, प्रदेश र संघ सरकारलाई दबाब दिने उनीहरूको भनाइ छ ।
जजिरा एयरलाइन्सले अहिले सातामा तीन दिन उडान भरिरहेको छ । जजिराले खाडी मुलुक आउजाउ गर्ने श्रमिक मात्र बोकिरहेको छ । यहाँबाट भारतलगायत मुलुकमा यात्रा गर्ने धेरै व्यक्ति भए पनि मुलुककै वायुसेवा कम्पनीले उडान नगर्दा विमानस्थल ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँका उद्योगी तथा व्यवसायीले दबाब धर्ना, ज्ञापनपत्र र छलफल आयोजना गरिरहेका छन् । विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरोकारवाला निकायलाई झकझकाउने, आन्दोलन गर्ने, धर्ना दिने जस्ता कार्यक्रम नगरी राख्ने व्यवसायी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स, होटल एसोसिएसनलगायत संघसंस्थाका प्रतिनिधिले केन्द्रीय सरकार र नागरिक उड्डयन प्राधिकरणले चासो नदिएकाले अन्तर्राष्ट्रिय विमानस्थल नामको मात्र भएको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले कम्तीमा एउटा विमान अनिवार्य रूपमा सञ्चालनमा ल्याउनुपर्ने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालको भनाइ छ ।

अर्थ वाणिज्य

अर्थतन्त्रको चुनौती कायमै ः आईएमएफ

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– मुलुकका बाह्य सूचक सकारात्मक अवस्थामा रहे पनि आन्तरिक आर्थिक गतिविधिमा कमी आएकाले अर्थतन्त्रमा चुनौती कायमै रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । नेपाल राष्ट्र बैंकले समयमै ल्याएको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको, मुद्रास्फीति घटाएको र कोभिडपछिको आर्थिक पुनरुत्थान बलियो रहेको कोषले औंल्याएको हो ।
कोषले सोमबार जारी गरेको आर्टिकल फोर प्रतिवेदनमा सरकारले अर्ध–वार्षिक बजेट समीक्षामार्फत वित्तीय जोखिम न्यूनीकरणलाई सम्बोधन गर्न खोजेकाले भविष्यमा त्यसले सकारात्मक प्रभाव पार्ने जनाइएको छ । यद्यपि यसअघि लामो समयसम्म आयात प्रतिबन्धको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको प्रतिवेदनको दाबी छ । कोषको प्रतिनिधिमण्डलले नेपालको वित्तीय तथा मौद्रिक नीतिसँगै समग्र आर्थिक अवस्थाको अध्ययनबाट हरेक वर्ष आर्टिकल फोर प्रतिवदेन तयार गर्छ ।
आर्थिक वर्ष सन् २०२२/२३ को पहिलो ६ महिनामा राजस्वमा आएको १६.५ प्रतिशतको गिरावट, सरकारी खर्चमा भएको ११.२ प्रतिशतको वृद्धि र ब्याजदर बढ्ने जस्ता कारणले नेपालको आन्तरिक अर्थव्यवस्थामा चुनौती कायम रहनुका साथै पुँजीगत बजेट खर्चसमेत सन्तोषजनक नरहेको कोषको मूल्यांकन छ ।
चालु आर्थिक वर्षको वित्तीय घाटा ४.५ प्रतिशत पुग्ने कोषको अनुमान छ । चालु खाता घाटा भने जीडीपीको ५.२ प्रतिशत पुग्ने उसको प्रक्षेपण गरेको छ । यद्यपि आर्थिक वर्षको आगामी अवधिमा पर्यटन क्षेत्रमा केही सुधार हुने तर वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका कारण उक्त सन्तुलन खासै फाइदाजनक नहुने कोषको अनुमान छ । रुस–युक्रेन युद्धले बढाएको महँगीलगायत कारणले नेपालको ऊर्जा, खाद्य सुरक्षाजस्ता क्षेत्रमा सुस्तता आउन सक्ने भन्दै कोषले विश्वव्यापी मन्दीको असर विस्तारै नेपालले पनि झेल्नुपर्नेमा सचेत गराएको छ ।
चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४.४ प्रतिशत रहने र आगामी वर्ष यो दर ५.१ प्रतिशत पुग्ने कोषको प्रक्षेपण छ । यो राष्ट्रिय तथ्यांक कार्यालयले गत साता सार्वजनिक गरेको भन्दा बढी हो । कार्यालयले चालु आर्थिक वर्षमा उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको, खाद्यान्न र तेलको घट्दो अन्तर्राष्ट्रिय मूल्य, नियमित हुँदै गएको भारतको मुद्रास्फीति र नेपालको घट्दो घरेलु मागका कारण यस वर्ष नेपालको मुद्रास्फीति ७.१ प्रतिशत हाराहारीमा रहने कोषको अनुमान छ । सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति दर ७ प्रतिशतभित्रै कायमै राख्ने लक्ष्य राखेको थियो ।
केही महिनादेखि रोकिएको आईएमएफले नेपाललाई प्रदान गर्ने विस्तारित कर्जा सुविधा (एस्टेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) अन्तर्गतको दोस्रो किस्ता स्वीकृत भएको छ । अमेरिकाको वासिङ्टन डीसीमा बसेको आईएमएफ सञ्चालक समिति बैठकले ईसीएफअन्तर्गतको दोस्रो किस्ता भुक्तानी दिने निर्णय गरेको हो । विस्तारित कर्जा सुविधा लिँदा नेपालले गरेको प्रतिबद्धता समीक्षा गर्दै दोस्रो किस्ता भुक्तानी दिने निर्णय गरेको हो । यसअघि आफूले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै आईएमएफले करिब एक वर्षदेखि दोस्रो किस्ताको भुक्तानी रोकेको थियो । यो निर्णयसँगै अब नेपालले दोस्रो किस्ता ५ करोड २८ लाख अमेरिकी डलर (करिब पौने ७ अर्ब रुपैयाँ) पाउने भएको हो । आईएमएफले ०७८ पुस २८ मा ईसीएफअन्तर्गत करिब ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो ।
गत वर्ष विदेशी मुद्रा सञ्चिति घटेका कारण भुक्तानी सन्तुलनमा समस्या देखिएपछि नेपालले कोषमार्फत ईसीएफ ऋणका लागि पहल थालेको थियो । सरकारले गत वर्ष वैशाखमा विदेशी मुद्राको सञ्चिति घटेको कारण देखाउँदै विलासिताका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Page 6
समाचार

कोभिडको ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्लूएचओले ३० जनवरी २०२० मा संकटकाल घोषणा गरेको थियो ।
‘ठूलो आशाका साथ म कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु,’ डब्लूएचओका महानिर्देशक टेड्रोस
एड्हानोम गेहब्रेयससले भनेका छन्, ‘हिजो आपत्कालीन कमिटीको १५ औं बैठक बस्यो, त्यसले मलाई विश्वव्यापी चासोको सार्वजनिक स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्न सिफारिस गरेको थियो । मैले त्यो सल्लाहलाई स्वीकार गरें ।’ तर उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भन्ने नभएको उनको भनाइ छ । ‘परिस्थितिमा परिवर्तन भए संकटकालीन अवस्था पुनःस्थापित हुन्छ,’ उनले भने ।
यो घोषणालाई कोरोना महामारी समाप्तितर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । धेरै देशले कोभिडको संकट समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । कोभिडबाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांकले बताउँछ । तर मृत्यु भएका व्यक्तिको संख्या २ करोड आसपास हुन सक्ने जनस्वास्थ्यविद्ले जनाएका छन् । कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

समाचार

सदाको शव अस्पतालले आफन्तलाई बुझायो

- विनोद भण्डारी

(विराटनगर)
चार दिनदेखि अस्पतालको शव गृहमा रहेको सिरहा–१४ का वीरेन्द्र सदाको शव शुक्रबार आफन्तलाई जिम्मा लगाइएको छ । आफूले पाउनुपर्ने ३ लाख ३५ हजार उपचार खर्चमध्ये शुक्रबार ५४ हजार मात्र लिएर मृतकका छोरा अंकित र छिमेकी सञ्जयकुमार मण्डललाई अस्पतालले शव जिम्मा लगाएको हो । उधारो औषधि दिने अर्यान फार्मेसीले पनि आफूले पाउनुपर्ने २ लाख १६ हजार रुपैयाँ छुट दिएको छ ।
ब्रेन ह्यामरेज भएर गत चैत २८ मा विराटनगर–१० जहदा रोडस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पताल भर्ना भएका ४७ वर्षीय सदाको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव डा. सुधा देवकोटाले पैसाका लागि शव राखेर बार्गेनिङ नगर्न भन्दै सद्गतका लागि शव आफन्तलाई बुझाउन अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन् ।
अस्पतालका प्रशासन प्रमुख राजेश भट्टराईले मृतकका आफन्तले शव राखेर आवश्यक रकम लिएर आउने भन्दै हिँडेको र सम्पर्कमा नआएकाले चार दिनदेखि शव अलपत्र परेको बताए । ‘शुक्रबार मृतकका आफन्तले ५४ हजार रुपैयाँ लिएर आए,’ उनले भने, ‘त्यति नै रकम लिएर सद्गतका लागि अस्पतालले शव आफन्तको जिम्मा लगाएको छ ।’ बिरामी भर्ना गर्दा सदाका आफन्तले विपन्न वर्ग भएको कुनै पनि प्रमाण अस्पताललाई पेस नगरेकाले उनको उपचार विपन्न वर्ग कोषबाट हुन नसकेको भट्टराईले बताए ।
फार्मेसीले पनि आफूले पाउनुपर्ने सबै रकम छुट दिएको छ । फार्मेसीका प्रतिनिधि समीर आलमले शुक्रबार अस्पताल प्रशासन र सदाका आफन्तसँग औषधिबापत पाउनुपर्ने २ लाख १६ हजार रुपैयाँ नलिने सम्झौता गरेका छन् । फार्मेसीले यसअघि सदाको परिवारबाट औषधिको ६० हजार रुपैयाँ लिएको जनाएको छ ।

समाचार

'टोपबहादुरजी फरार भए पनि निकाल्छौं’

- कान्तिपुर संवाददाता

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बनेको संगठित गिरोहमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा जोडिएका जोकोहीमाथि पनि छानबिन हुने र कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन् । यही सन्दर्भमा पुल्चोकस्थित मन्त्रीनिवासमा मन्त्री श्रेष्ठसाग देवेन्द्र भट्टराई र दुर्गा खनालले गरेको संक्षिप्त वार्ता :

बिहीबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्राउ पुर्जीलाई लिएर ॅबारम्बार मन्त्री भएको उच्चस्तरको नेतालाई यसरी पक्राउ गर्न नमिल्ने’ आशयको मन्तव्य दिनुभयो । रायमाझी बचाउमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पुकारा गर्नुभयो । यो अवस्था कस्तो हो ?
उहाँहरूको भेटघाटको विषयमा शरणार्थी कुरा पनि थियो भन्ने मैले थाहा पाएँ । तर उहाँ (ओली) ले कुनै संगठित अपराधको घटनामा दोषी देखाइएको वा भएको अथवा दोषी देखेको कसैलाई कारबाही नगर्न भन्न सक्नुहोला जस्तो लाग्दैन । त्यसो भन्न पनि मिल्दैन । अब कसैले भन्नुभा’छ भने पनि सरकारले, गृह प्रशासनले त्यसलाई आधार मानेर दोषीलाई छुट दिने कुरा आउँदैन ।

बहालवाला सचिव नै पक्राउ परी अनुसन्धानमा रहेको कुरा सामान्य होइन । यो गिरोह सञ्चालनको पछिल्लो ५ वर्षमा यत्रो गतिविधि भएको रहेछ । यसबेला कुनै प्रकारको दबाब/प्रभाव रहेको छैन भने पनि राजनीतिक तहमा तपाईंले कसरी ॅफेस’ गरिरहनुभएको छ ?
मैले बारम्बार भनेको छु कि भ्रष्टाचार र भ्रष्टाचारीलाई, अपराध र अपराधीलाई, तस्करी र तस्करलाई, ठग र ठगीलाई कुनै पनि कोणबाट दबाब वा यसप्रकारको कुनै अनुरोधको कोणबाट हेरिँदैन, हेरिनेछैन । हामीले अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर दोषी र अपराधीलाई कारबाहीको विन्दुमा पुर्‍याउँछौं । त्यसमा ढुक्क हुनका लागि म आग्रह गर्न चाहन्छु ।

नक्कली शरणार्थी प्रकरण चलेको ५ वर्षमा दुई जना गृहमन्त्री हुनुभयो, ३ जना सचिव । यति लामो समयसम्म गिरोह सक्रिय भइरहँदा हाम्रो राज्यसंयन्त्र कहाँ थियो ? किन पत्तो पाएन ?
मैले यसबारेका सम्पूर्ण पाटापक्षबारे गहिराइमा अध्ययन–अनुसन्धान गरिरहेको छु । जहाँजहाँ यथास्थितिवाद छ, अपराध वा भ्रष्टाचारमैत्री प्रवृत्ति छ, त्यसप्रति सरकारी संयन्त्रभित्रै पनि कडा रूप अपनाइनेछ ।

जुन समस्या समाधानका लागि भनेर प्रतिवेदन बनाइएको थियो, अब त प्रतिवेदनको औचित्यमाथि पनि अनुसन्धान हुन्छ होला नि ?
त्यो म हेर्दै छु, गम्भीरतासाथ हेर्दै छु ।

यो मामलामा धेरै व्यक्ति संलग्न भएको देखिन्छ । पूर्वमन्त्री टोपबहादुर रायमाझी त फरार नै हुनुभयो । यो स्थितिलाई कसरी हेर्नुभएको छ ?
यसरी ‘फरारी’ भएपछि त त्यसले हामीलाई मद्दतै गर्छ नि । एक/दुई दिन फरार भए पनि हामीले निकाल्न त निकाल्छौं नै । इन्डिया गएकै भए पनि कति बसिरहने र ? निगरानी त हामीले गरिरहेकै छौं ।

अब आत्मसमर्पण गर्दैमा पनि कसरी गर्ने भनेर ॅफेस–सेभिङ’ उपाय खोजिँदै छ भन्ने सुनिन्छ नि ?
मलाई त्यस्तो लागिरा’छैन । हाम्रो प्रहरी निकाय पनि लागिरहेको छ, तत्काल चाहिँ फोन ‘ट्र्याकिङ’ गरेर पत्तो लागेन, फोन अफ रहेछ । उसको गाडीको ड्राइभरको ‘ट्र्याकिङ’ गरेका थियौं, गाडी र ड्राइभर भेटियो तर ऊ (टोपबहादुर) छैन । त्यस्तो स्थिति भयो । त्यसकारण मान्छे लगाएर, सिभिलहरूले खोजिरहेका छन् ।

तपार्इंले त एउटा मान्यता बनाउनुभएको रहेछ, ठग–भ्रष्टाचारीलाई नछाडिने अर्थमा । यो नाराको कति अर्थ रहला ?
ठग, भ्रष्टाचारी, तस्कर, कालाबजारियाले स्वयं कानुनको अगाडि आएर समर्पण गर्ने वातावरण बन्छ भन्ने कुरामा म विश्वस्त छु । त्यो ढंगले काम गरिएको छ ।

यसको सुरुवात टोपबहादुरजीबाटै हुन्छ कि ?
त्यो त तपार्इंहरूलाई नै थाहा होला ।

Page 7
खेलकुद

३३ वर्षपछि नेपोली च्याम्पियन

- कान्तिपुर संवाददाता

 

एपी (नेपल्स)
डिएगो म्याराडोनाको विशाल मूर्तिको ठीकमुनि नेपोली समर्थकले बिहीबार पहिलोपल्ट इटालीको सिरी ‘ए’ उपाधि जितेको खुसीयाली मनाए । गीत गाउँदै, भावविह्वल भएर उफ्रिँदै र आतिसबाजी गर्दै उनीहरूले खुसी साटे । लागिरहेको थियो, समर्थकहरू आफै मैदानमा थिए खेलाडीका रूपमा । म्याराडोनाको नाममै रहेको ‘आइकोनिक’ स्टेडियम रहेको सहरको अर्को छेउ अरू समर्थकहरू भने आफ्ना पूर्वअर्जेन्टिनी खेलाडीप्रति श्रद्धान्जली दिइरहेका थिए ।
नेपोलीबाट खेलेका अहिलेसम्मकै महान् खेलाडी म्याराडोनाको तस्बिर, उनको नामअंकित ब्यानर, स्कार्फ र १० नम्बर जर्सी जताततै थिए । यसपल्ट भने नेपोलीले लुसियानो स्पालेट्टीको नेतृत्वमा लिग उपाधि जितेको थियो । यो म्याराडोनाको कालपछि नेपोलीले प्राप्त पहिलो लिग उपाधि थियो । नेपोलीले म्याराडोना छँदा सन् १९८७ र १९९० मा दुईपल्ट लिग उपाधि जितेको थियो । यति नै हो नेपोलीले इटालीको माथिल्लो डिभिजनको उपाधि जितेको । ३३ वर्षपछि यो सफलता मिलेको हो । सन् २००१ मा रोमाले उपाधि जितेपछि परम्परागत फुटबल राजधानी मिलान र टुरिनको दक्षिणमा रहेको नेपोलीले पहिलोपल्ट लिग जितेको हो ।
ती पुराना दिन नेपोलीलाई दुईपल्ट लिग उपाधि दिलाउन म्याराडोना एक्लै पर्याप्त जस्तो थियो । तर, यसपल्ट टिममा यस्तो कुनै नाम थिएन । बरू, कम
नाम चलेका सबै खेलाडीले उत्तिकै महत्त्वपूर्ण योगदान दिए । ‘क्लबका समर्थकले धेरै नाम चलेका खेलाडी र प्रशिक्षक आएको देखे, गएको पनि देखे । तर म्याराडोना फरक थिए । सायद अहिलेको टिमको सफलतामा म्याराडोनाको कुनै न कुनै भूमिका रहेको हुनुपर्छ,’ प्रशिक्षक स्पालेट्टीले भने ।
अहिलेको टिममा खासै ठूला नाम त थिएनन् । तर, टिमले एकजुट भएर गरेको प्रदर्शन भने मजबुत रह्यो । टिमका लागि प्रत्येक खेलाडीले उम्दा प्रदर्शन गरेका थिए । सेन्टर फरवार्डका भिक्टर ओसिमिन लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन् । लेफ्ट विंग्सका भिचा काभारखेलियाले सर्वाधिक धेरै ‘एसिस्ट’ निकालेका छन् । सेन्टर मिडफिल्डका स्टानिस्लाभ लोबोट्का पनि पास निकाल्न माहिर छन् । सेन्टर ब्याकमा किम मिन–जाएको उपस्थिति पनि बलियो रह्यो ।
नेपोलीले युडिनेजीलाई १–१ को बराबरीमा रोक्दै लिग उपाधि जित्ने निश्चित गरेको हो । नेपोलीले दोस्रो हाफमा ओसिमिनकै गोलले खेलमा फर्कको थियो । त्यसअगाडि युडिनेजीले सान्डी लोभरिचको गोलमा अग्रता लिएको थियो । ‘म विश्वभरका नेपोली समर्थकका लागि खुसी छु । नेपल्स सहर यसपालि जत्तिको लिग उपाधिको हकदार कहिले रहेको थिएन । कसले गोल गर्‍यो, त्यो महत्त्वको रहेन । हामीले लिग जित्यौं, त्यो मात्र महत्त्व हो ।’
लिगमा पाँच चरणका खेल बाँकी छँदा नेपोलीले दोस्रो स्थानमा रहेको लाजियोमाथि १६ अंकको निर्णायक अग्रता लिएको छ । युडिनेजीविरुद्धको खेल हेर्न ११ हजार नेपोली समर्थक उत्तरी इटालीको सहरको स्टेडियमभित्र थिए भने ५ हजारजति स्टेडियम बाहिर । यता नेपल्समा डिएगो म्याराडोना स्टेडियममा हालिएको विशाल पर्दामा ५० हजार समर्थकले खेल हेरे । स्पालेटीले खेलपछि भने, ‘यो नेपल्स सहरका लागि । यहाँका जो–कोहीले पनि आफ्नो जीवनमा दुःख बेहोरेको हुनुपर्छ, यो दिनले तिनलाई पनि खुसी दिनेछ ।’
खेल सकिएको सिठी बजेसँगै युडिनेजीमा नेपोली समर्थकले सडकमै खुसीयाली मनाए भने नेपल्समा चारैतर्फ आतिसबाजी गरिएको थियो । पूरा रात सहर सुतेको थिएन र खुसीयालीका क्रममा केही समर्थक घाइते पनि भएका छन् । नेपोली क्लबका अध्यक्ष ओरेलियो डी लोरेन्टिसले भने, ‘हाम्रा समर्थक सधैं हामीलाई लिग जित्नुपर्छ भन्थे । आज यो उपलब्धि प्राप्त भएको छ । हामी लिग च्याम्पियन भएका छौं । यो खासमा हामी सबैले जितेका हौं ।’
सन् २००४ मा उनले पहिलोपल्ट क्लबको नेतृत्व सम्हालेका थिए, जतिबेला नेपोली आर्थिक रूपमा टाट पल्टेको घोषणा गरिएको थियो । अध्यक्ष लोरेन्टिसले थपे, ‘हामीले एउटा अर्को लिग उपाधिका लागि धेरै प्रतीक्षा गर्‍यौं, ३३ वर्ष भनेको धेरै लामो समय हो । तर, आज हामी सबैको सपना पूरा भएको छ ।’
इटालीका प्रधानमन्त्री जर्जिया मलोनीले पनि नेपोलीको सफलतामा बधाई दिएका छन् । उनले भनेका छन्, ‘३३ वर्षपछि नेपोली फेरि एकपल्ट लिग च्याम्पियन भएको छ । मेरो तर्फबाट सबै खेलाडी, प्रशिक्षक र पूरा क्लबलाई बधाई ।’

खेलकुद

गजब लयमा हिमालयन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– हिमालयन शेर्पा क्लब सम्भवतः धेरैका लागि रेलिगेसनबाट बच्नका लागि संघर्ष गर्ने टिम हो । तर, पछिल्लो समय टिमले यस्तो खेल खेलेको छ, जसले त्यस्तो धारणा राख्ने सबैलाई गतिलो जवाफ दिएको छ । हुन पनि सुरुआती १० खेलबाट टोलीको खातामा ९ अंकमात्र थियो । त्यसपछि हिमालयन शेर्पा गजब लयमा देखिएको छ । टोलीले सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० को आफ्नो पछिल्ला ५ खेलमा अपराजित रहेर ११ अंक बटुलेको छ ।
अमृत श्रेष्ठको निर्णायक गोलको मदतमा हिमालयनले शुक्रबार पुलिस क्लबलाई २–१ ले पराजित गरेको छ । अमृतले ५१ औं मिनेटमा गरेको गोल नै हिमालयनको जितमा पर्याप्त रह्यो । दशरथ रंगशालामा भएको खेलमा हिमालयनले अबायोमी फाकुन्लेको गोलबाट ५१ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको ३० औं मिनेटमै पुलिसका लागि सौजन राईले बराबरी गोल फर्काएका थिए । हिमालयनको यो लगातार दोस्रो जित पनि हो ।
जितपछि हिमालयनको २० अंक भएको छ । टोली सातौं स्थानमा उक्लेको छ । हिमालयनले यसअघि पुलिसविरुद्धको खेल १–० ले जितेको थियो । त्यसमा अमृतले नै निर्णायक गोल गरेका थिए । पुलिस भने १५ अंकमै सीमित रह्यो ।
हारले पुलिसको लगातार ३ खेलको जितयात्रामा पूर्णविराम लागेको छ । मनाङ मर्स्याङ्दी, खुमलटार र जावलाखेललाई हराएर आफ्नो लयमा देखिएको पुलिस हिमालयनविरुद्ध भने जितको हकदार देखिएन । खेलपछि हिमालयनका प्रशिक्षक सुमन श्रेष्ठले सटिक प्रतिक्रिया दिए । उनले भने, ‘हामीले महत्त्वपूर्ण ३ अंक बटुलेका छौं । यो लिगमा सबै टिम लगभग बराबरका छन् । त्यसैले कुन बेला कस्तो खेलको नतिजा आउने छ, त्यो भन्न सकिने छैन । अब हाम्रो जिम्मेवारी भनेको पछिल्ला ५ खेलमा टिमको प्रदर्शन जस्तो रह्यो, त्यसलाई नै कायम राख्ने हो । त्यसरी नै खेल्ने हो । हामी अझै पनि सुरक्षित भएर ढुक्क भएका छैनौं ।’
यता शीर्षस्थानको जावलाखेलको खराब दिन शुक्रबार पनि कायम
रह्यो । क्यामरुनी खेलाडी स्टेफेन समीरको ह्याट्रिक मदतमा अन्तिम स्थानमा झरेको खुमलटारले जावलाखेललाई ४–२ ले पराजित गर्‍यो । यो खेल जितेर खुमलटारले रेलिगेसन क्षेत्र छाडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा समीरले १९ औं, पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेट तथा ५० औं मिनेटमा गोल गरे । अर्को गोल मेसुके ओलोमोउको नाममा रह्यो । उनले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे ।
जावलाखेलको पहिलो गोल भने आत्मघाती रह्यो । रोहित सुब्बाले ४२ औं मिनेटमा यो दुर्भाग्यपूर्ण गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा विपिन कँडेलले दोस्रो गोल फर्काए । यो नतिजापछि टोलीको १७ अंक भएको छ । पछिल्लो समय जावलाखेल खराब लयबाट गुज्रिइरहेको छ । पछिल्ला तीन खेलमा जावलाखेलले १ अंक बटुलेको छ । जावलाखेल २४ अंकमै सीमित रह्यो । यसअघि संकटासँग बराबरी खेलेको जावलाखेलले हिमालयन शेर्पासँग पराजय भोगेको थियो ।

खेलकुद

श्रीमेहर च्याम्पियन

- कान्तिपुर संवाददाता


बागलुङ (कास)– सेनाको श्रीमेहर गण शुक्रबार अर्ना जेसिज कप फुटबलको च्याम्पियन भएको छ । बागलुङ नगरपालिका १ को बाङगेचउर मैदानमा श्रीमेहरले वीर गोर्खाली युवा क्लबलाई १–० ले हरायो । विजेताका लागि ३० औं मिनेटमा पिताम्बर घर्तीमगरले गरेको गोल नै निर्णायक भयो ।
श्रीमेहले १ लाख ५० हजार र वीर गोर्खालीले ७५ हजार रुपैयाँ पुरस्कार पाए । बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगितामा सर्वाधिक गोल गरेका चिल्ड्रेन लाइफका जोख ग्लोरीले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । श्रीमेहरका विप्लव गुरुङ र विकास मगर, वीर गोर्खालीका सन्जीव अर्याल र शशिल थापामगरले आफ्नो विधामा पुरस्कार पाए । उत्कृष्ट टिम कप्तान वीर गोर्खालीका सन्जीव अर्याल भए भने फेयर प्ले कालीपुल युवा ब्लबले पायो । शुक्रबार म्यान अफ द म्याच श्रीमेहरका पिताम्बर घर्तीमगर घोषित भए ।

खेलकुद

हाङझाउ एसियाडलाई तयार

- कान्तिपुर संवाददाता

(काठमाडौं)
हाङझाउ एसियाली खेलकुदमा सहभागी हुने देशका ‘चिफ द मिसन’को तीन दिने बैठक यसै साता सकिएको छ । यसक्रममा चिनियाँ सहरले आफू प्रतियोगिता आयोजनाका लागि पूर्णतः तयार रहेको घोषणा गरेको छ । बैठकमा एसियाका ४५ देशका प्रतिनिधि सहभागी थिए ।
नेपालबाट नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले भाग लिएका थिए । बैठकमा चिफ द मिसनलाई प्रतियोगिताका नियम, एन्टी डोपिङ नीति, आयोजनास्थलको तयारी, आवास तथा खानालगायत मिडियाबारे जानकारी दिइएको थियो । उनीहरूलाई आयोजनास्थलको निरीक्षण भ्रमण पनि गराइएको थियो । ‘प्रतियोगिता सुरु हुन ६ महिनाअगाडिदेखि नै हाङझाउ सहरले आफू पूर्णतः तयार रहेको देखाएको छ । चीनको तयारी उत्कृष्ट र भव्य छ,’ उपाध्यक्ष वैद्यले सुनाए । हाङझाउ एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदै छ । प्रतियोगितामा ४० खेलका ४ सय ८२ स्पर्धा छन् ।
हाङझाउ एसियाली खेलकुदका लागि ४४ खेलस्थल प्रयोगमा आउनेछन् । त्यसमध्ये ३० को पुनर्निर्माण गरिएको छ भने १४ पूर्णतः नयाँ छन् । उद्घाटन र समापन हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा हुनेछ । प्रतियोगिताका अधिकांश खेल हाङझाउमै हुनेछन् भने केही खेल तेछिङ, जिनख्वा, निङ्पो, सासिङर वेन्झोमा पनि हुनेछन् ।
एसियाली खेलकुदकै लागि भनेर हाङझाउमा तीव्र गतिको रेल निर्माण गरिएको छ । १८ हजार खेलाडी क्षमताको भिलेज पनि निर्माण गरिएको छ । त्यसमा १ सय ८ आवासीय घर छन् । एसियाली खेलकुदको १९ औं संस्करणमा ३० हजार खेलाडी, प्रशिक्षक र पदाधिकारीको सहभागिता रहनेछ ।

खेलकुद

आशा र स्वतिका विजयी

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– क्योकुसिन बज्रका आशा गिरी र स्वस्तिका थारु २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट करातेअन्तर्गत महिला ५० केजीमुनि सेमिफाइनल पुगेका छन् । केडब्लूडब्लूकी शिवानी आले मगर र बुदोकैदोकी उषा रावल पनि सेमिफाइनलमा पुगेका छन् । पुरुष खुलामा आर्मीका विनय सिंह, एपीएफका भूपेन्द्र बिक, केडब्लूडब्लूका होमबहादुर राई, बज्रका अनुप श्रेष्ठ, रवीन्द्र बुढाथोकी र सन्तोष विश्वकर्मा, एफआईकेकेका विजय स्याङतान, आईकेओका विक्रम मोक्तान विजयी भए ।
महिला खुलामा आर्मीकी मञ्जु बिक, एपीएफकी सुमित्रा नगरकोटी, बज्रकी गायत्री रोक्का, केडब्लूडब्लूकी अनिशा तामाङ विजयी भएका छन् ।

खेलकुद

पुम्सेमा युनिका र भिजनलाई स्वर्ण

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् ।
श्री सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका र पुरुषमा भिजन विजेता भए । महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) की प्रगति कुइँकेल दोस्रो तथा सुसंस्कारकी सिजल लामा र चन्द्रागिरिकी सिमानी लामा तेस्रो भए । पुरुषमा एनटीएका आयुश ढुंगेल दोस्रो तथा चन्द्रागिरिका लवाङ लामा र आयोजकका आर्दश बुढाथोकी तेस्रो बने ।
पुरुष २० केजीमा एम्बासडरका कविर मगरले स्वर्ण जिते । उनले फाइनलमा एनटीएका अर्थ कुइकेललाई पराजित गरे । २५ केजीमा एनटीएका प्रशान्त धमलाले एम्बासडरका सन्जिव जिरेललाई हराउँदै स्वर्ण जिते । २८ केजीमा चन्द्रागिरिका समिर ठाकुरले फाइनलमा एनटीएका कुशल बाँस्तोलालाई हराएर स्वर्ण जिते ।
सुन्दरीजलस्थित ओखरेनी माविमा भइरहेको स्पर्धाको महिला २० केजीमा आयोजककी पुनम घिमिरेले फाइनलमा एनटीएकी स्मारिका गौतमलाई हराएर स्वर्ण जितिन् । २५ केजीमा कोटेश्वरकी हृदयानी बस्नेतले एम्बासडरकी याङगी शेर्पामाथि जित पाइन् । ३२ केजीमा एनटीएका भिजन तामाङले पुष्पलालका सुवास भुजेललाई हराएर स्वर्ण जिते । प्रतियोगिताको संघीय सांसद सन्तोष चालिसेले निर्णायकलाई खेल सामग्री हस्तान्तरण गरेर उद्घाटन गरे । ग्यारोगीमा २१ र पुम्से (एकल) मा २ गरी २३ स्पर्धामा ३ सय १२ खेलाडीले भाग लिएको आयोजक डोजाङका प्रमुख सुवासचन्द्र गौतमले जनाए ।

Page 9
कोसेली

कस्सम, मलाई मेरै माया लाग्छ !

- शिक्षा रिसाल

 

प्रत्येकको जीवनमा एकपटक यस्तो समय आउँछ, जहाँ आफूले आफैंलाई रोज्नुपर्ने हुन्छ । परिवार, साथीभाइ, काम, वातावरण, कुनै विषय पनि त्यति महत्त्वपूर्ण हुँदैनन्, जति आफ्नो मनको शान्ति हुन्छ । त्यस्तो बेला आफैंलाई प्राथमिकतामा राख्नुपर्छ अनि केलाउनुपर्छ– तपाईंलाई के कुराले सताइरहेको छ ? के कुराले खुसी बनाउँछ ?
४ वर्षअघि डिप्रेसनसँग जुध्दा मलाई लाग्थ्यो– अब मेरो जीवन सकियो । मलाई कुनै पनि विषयले खुसी नै दिँदैनथ्यो । मलाई महसुसै हुन छाड्यो– के राम्रो ? के नराम्रो ? के सही ? के गलत ? के असल ? के खराब ? द्वन्द्व आफैंसँग नभएर अरूसँग भइदिएको भए सायद लड्न सहज हुन्थ्यो, तर आफैंसँगको लडाइँमा न जित्ने उर्जा हुन्छ, न हार्ने साहस । म आफू भित्रभित्रै बाढी, पहिरो, आँधीबेहरी, भूकम्प, डढेलो, खडेरी सबै महसुस गरिरहेकी थिएँ ।
ती सुरुवाती दिनमा आफूलाई सम्हाल्ने प्रयास गरेँ । म काममा जान्थेँ, अरूका अघि धेरै हाँस्थे, गफ पनि गर्थें, मान्छेहरूको प्यारो पनि थिएँ । तर, म भित्रभित्रै आगोको लप्का दनदनी बलिरहेको थियो । म कतै चिसो तलाउमुनि गएर डुब्न चाहन्थें । अनि वर्षौंसम्म निदाउन चाहन्थेँ ।
न बिहान आँखा खोल्न मन लाग्थ्यो, न साँझ आँखा बन्द गर्न । निद्रा पर्दैनथ्यो, तर म हरबखत सुतिरहन्थेँ । म पत्थरजस्तै भएकी थिएँ । एक ठूलो चट्टानले मलाई थिचिरहेछ जस्तो हुन्थ्यो । कानमा भयानक आवाजले साउती गर्थे अनि हाँस्थे । मलाई लाग्थ्यो, यिनीहरू मेरो परिस्थितिदेखि हाँसिरहेछन् । मध्यरातमा आँखाअघि आउने डरलाग्दा अनुहारहरूले गिज्याउँदै मलाई भन्थे, ‘तँ जिन्दगीदेखि हारिस् शिक्षा, तँ अब कहिल्यै अघि बढ्न सक्दिनस् !’
ल ल ल
१८ वर्षकी छँदा पत्रकारितामा प्रवेश गरेकी थिएँ म । १८ वर्षको उमेर मेरा लागि खास थियो । पहिलो पटक मैले प्रेम अनुभव गर्न थालेकी थिएँ । जीवनमा केही गर्ने अठोट थियो, अनि आँखाभरि उमंग । पत्रकारिता फगत एक जागिर थिएन । सपना थियो । लगन थियो । मलाई समाचारप्रति दायित्वबोध हुन्थ्यो । तर, त्यतिबेलाका मेरा विचार कहिल्यै समाजसँग मेल खान सकेनन् । म धेरै जान्ने–बुझ्ने पनि थिइनँ । सिक्दै थिएँ । राजनीतिक कुरा म बुझ्दिन थिएँ । मलाई चासो पनि थिएन ।
‘पत्रकार भएर राजनीतिको बारेमा थाहा नहुने ?’
हो म गवार नै थिएँ । कम बोल्थेँ । धेरै अबसर्भ गर्थें । त्यसैले धेरैपटक आफैंलाई प्रश्न गरिरहन्थेँ, ‘के पत्रकारिता साँच्चिकै मेरो क्षेत्र हो र ?’
आफ्ना लालाबाला, छोराछेरी छोडेर विदेश जान बाध्य भएकी आमाको आँसु लेखेर म समाचार कक्षमा पुग्थेँ, कति जना विदेश गए, कति रेमिट्यान्स भित्रियो भन्ने फ्याक्ट मागिन्थ्यो, अघिल्लो आवको तुलनामा । म फुटपाथमा नांग्लो पसल खोलेर बस्ने बुबाको जीवन केलाउने प्रयास गर्थेँ । समाचार कक्ष मलाई फाइनान्सको एक साधारणसभामा कति लाभांश वितरण भयो भन्ने
फ्याक्ट माग्थ्यो ।
पत्रकारिताको समुद्रमा भर्खरै हाम फालेकी थिएँ । पौडिन जानिन सायद । न डुबेँ न तैरिएँ, हिसाब गर्नै आएन । म गणितमा बच्चैदेखि कमजोर थिएँ ।
बिहान ७ बजे अफिस पुग्नेबित्तिकै मेरा सिनियरले मलाई एक गरुङ्गो कालो ब्याग थमाउँदै भने, ‘तल हिँड, हामी रिपोर्टिङ जानुपर्ने भयो ।’
त्यो गरुङ्गो ब्याग पछाडि बोकेर म उनको पछि–पछि लागेँ । पार्किङमा गएर हिरोहोन्डा स्पेल्नडरको पछाडि बसेँ, केही पनि नबोली । म बस्न नपाउँदै उनले बाइक हुँइक्याउँदा त्यो भारी झोलासँगै म बेस्सरी पछिल्तिर हुत्तिएको थिएँ ।
मैले सिनियरलाई सोधेँ, ‘हामी केको रिपोर्टिङलाई जान लागेको ?’
उनले बाइकको दाहिने ऐना सोझ्याए, लुकिङ ग्लासमा मेरो अनुहार हेरे अनि मुसुमुसु हाँस्दै भने, ‘रिपोर्टिङ हैन हामी रिसोर्ट जाने ।’
मैले केही बोल्न सकिन । मलाई जवाफ फर्काउनै आएन । उनले रिसोर्ट त लगेनन् । ठूलो घर लगे । त्यतिबेलाका एक उच्चपदस्थ व्यक्ति बस्ने रहेछन् । देशको नाम चलेका नेता ।
म सिनियरको पछि–पछि लागेर दोस्रो तल्ला उक्लिएँ । राजनीतिक उच्चपदस्थ व्यक्तिहरूका फोटो–फ्रेम भित्ताभरि टाँसिएका थिए । ठूलो–ठूलो झ्यालबाट खेतका हरिया फाँटहरू सुन्दर देखिएका थिए । झ्यालमा सेता पर्दा झुन्डिएको ठूलो कोठामा हामी पुग्यौँ । मेरो सिनियरले ‘यता बस’ भन्दै कालो सोफातिर इसारा गरे ।
‘देख्यौ यस्तो ठूलो मान्छेको घरमा आउन पाउने तिमी कति भाग्यमानी !’
ती सिनियरले मलाई संसारकै सबैभन्दा ठूलो पुरस्कार दिएजसरी भने अनि आँखा सन्काउँदै हाँसे । मलाई फेरि पनि केही बोल्नै आएन ।
मानिसहरूको आउने–जाने क्रम चलिरहेकै थियो त्यो घरमा । १०/१५ जना घरवरपर घुमिरहेका थिए ।
एउटा गमलाको माटो सुक्खा थियो अनि बिरुवाको एउटा पात कालो भएर अन्तिम सास फेरिरहेको थियो ।
हामीले अन्तर्वार्ता लिन कुरिरहेका नेता केहीबेरमा आए । उनी ढोकाबाट आउँदा–आउँदै मेरा सिनियरले मलाई नमस्ते गर्न आँखाले निर्देशन दिए । मैले हत्तपत्त उठेर दुई हात जोडेर टाउको निहुराएर नमस्ते गरेँ । उनले वास्ता गरेनन् । उनी सोफामा थचक्क बसे अनि मेरो टाउकादेखि खुट्टासम्म हेर्दै सिनियरलाई सोधे, ‘को हो यो नानी ?’
‘अफिसको नयाँ बैनी हो,’ सिनियरले तत्काल जवाफ दिए । न उनले मेरो नाम भने, न ती नेताले नै मेरो नाम सोधे । मैले फेरि दोस्रोपटक दुई हात जोडेर नमस्कार गरेँ । यो पटक भने उनले एउटा हात उठाउँदै मेरो नमस्तेको इज्जत राखिदिएजस्तो गरे ।
उनी शक्तिशाली नेता रहेछन् क्यार, तर मैले चिनेको थिइनँ ।
‘पत्रकारिता राम्रो छ नानी, राम्रो गर्नू ।’
म थोरै मुस्कुराएँ, टाउको हल्लाउँदै भने, ‘हस् ।’
उनीहरू देश, जनता, व्यापार, राजनीतिका गफ गरिरहेका थिए । म केहीबेरअघि एक युवकले ल्याइदिएको चिया घोप्टिँदै सुर्काउँदै थिएँ । उनीहरूको ठूला–ठूला गफ मैले बुझेको पनि थिइनँ । मैले चासो पनि दिइनँ ।
चियामा चिनी एकदमै कम थियो । रङ निकै कडा ।
केहीबेर पछि ती नेतालाई के कुरामा चित्त बुझेन, उनी एकैचोटि जंगिए । केहीबेरअघि चिया लिएर आएका ती युवकलाई बोलाए अनि बेस्सरी हप्काए ।
ठ्याक्कै के भने मलाई अहिले याद छैन, तर उनको आशय थियो, ‘एउटा काम गर्न यत्तिका बेर लाग्छ ?’
एकछिनअघि ती युवकको आँखामा मैले थोरै डर देखेको थिएँ अनि धेरै उदासी । ती नेताको हप्काइपछि युवकको आँखामा टिलपिल आँसु पनि देखियो ।
‘जा मेरो लुगा ठीक पारिदे ।’
युवक केही नबोली लुसुक्क गए ।
आँखामा डर, उदासी अनि प्रश्नै–प्रश्नको भारी बोकेर, हिचकिचाउँदै म बाइकपछाडि बसेँ । कालो गरुङ्गो झोला भिरेर ।
बाटाभरि ‘रिपोर्टिङ हैन रिसोर्ट’ भन्ने वाक्यले मेरो दिमाग बिथोलिरह्यो । अनि मेरा आँखा पनि टिलपिल भए ।
ती युवक र म मा के फरक रह्यो ?
हामी दुवैले जवाफ फर्काउन सकेनौं, ‘ठूला’ मान्छेहरूका अघि ।
मान्छेहरूले कसैलाई रिस पोख्न, हप्काउन, थर्काउन कसरी सक्छन् ? कसैलाई ‘म तँलाई रिसोर्ट लैजान्छु’ भन्दै तर्साउन कसरी सक्छन् ? आफ्नो सुपरभिजनमा काम गर्नेहरूको मनोविज्ञानसँग मनलागी गर्न उनीहरूले केही विशेष किसिमको लाइसेन्स पाएका हुन्छन् र ?
कि कामको कन्ट्र्याक्ट पेपरमा साइन गर्दा ‘यदि हाकिमको मुड खराब भएमा भर्वल अब्युजको सामना गर्नुपर्नेछ’, ‘जिस्किने मुड भएमा फर्ल्ट गर्न सकिनेछ,’ ‘कराउन, हप्काउन, पाइनेछ, तर तिमीले जवाफ फर्काउन पाउनेछैनौ’ भन्ने बुँदाहरू समावेश गरिएका हुन्छन् ? मैले ध्यान दिएर पढिनछु कि ?
ल ल ल
बेरोजगारी, बेथिति अनि साना–साना काम गर्न पनि ठूलै सोर्स–फोर्स लगाउनुपर्ने, चाकडी गर्नुपर्ने प्रवृत्तिदेखि वाक्क भएर मसँग पढेका थुप्रै साथी दशकअघि नै बिदेसिए । उतै पढे, उतै जागिर खाए, उतै घरजम गरे । म प्रशिक्षार्थी भएर रिपोर्टिङ गर्न दौडिरहेका बेला उनीहरू पुतलीसडक र बागबजारका कन्सल्टेन्सी वरपर भेटिन्थे । म त्यतिबेला खुल्न थालेका विभिन्न मिडियातिर आफ्नो बायोडाटा बुझाउन दिनभर हिँड्थें । उनीहरू शैक्षिक प्रमाणपत्र बोकेर दिनदिनै कन्सलटेन्सी धाइरहेका हुन्थे । उनीहरूको र मेरो बाटो त्यहीँबाट मोडियो । गन्तव्य पनि फेरियो । उनीहरू अहिले के कति खुसी वा सन्तुष्ट छन्, मैले विस्तारमा सोध्न पाएको छैन । सायद धेरै व्यस्त हुन्छन्, आफूभन्दा बाहिरको कुरा केलाई केलाई सोच्ने फुर्सद पनि पाउँदैनन् ।
धेरैपटक सुन्छु– ‘मोफसलबाट आएर केन्द्रमा पत्रकारिता गर्न हाम्रा लागि ठूलो संघर्ष थियो । तिम्रो त घर नै यहीँ थियो । सजिलो थियो होला ।’
तर, भौतिक दूरीका हिसाबले मोफसलबाट नजिकै भए पनि केन्द्रको पत्रकारिता मभन्दा धेरै पर थियो ।
टेलिभिजनहरू खुल्न थालेका थिए । नयाँ–नयाँ दैनिक पत्रिकाहरू प्रकाशित हुन थालेका थिए । फेसबुक बल्ल चलाउन जानेको थिएँ । साइबरमा गएर फेसबुक खोल्दै नाम चलेका ठूला–ठूला पत्रकारलाई रिक्वेस्ट पठाउँथे । अनि आफ्नो पत्रकार बन्ने चाहना व्यक्त गर्थें ।
म विभिन्न मिडिया हाउसहरू धाउन थालेँ । सम्पादकहरू भेट्न थालेँ । कतिले रिसेप्सनबाटै फर्काइदिन्थे । कतिले ‘इमेलमा समाचार पठाउनू’ भन्दै फोन काट्थे । ती इमेलका रिप्लाई कहिल्यै आएनन् ।
एकपटक एक नयाँ खुलेको टेलिभिजनका प्रचार विभागका हाकिमले मलाई अफिसमा भेट्न बोलाए । म निकै खुसी भएँ । राम्रोसँग बायोडाटा बनाएर म उनको अफिस पुगेँ । रिसेप्सनमा एक घण्टा कुराएपछि उनले मलाई भित्र बोलाए । मैले दुई हात जोडेर नमस्ते गरेँ ।
‘तिमीलाई एक्लै आऊ भनेको होइन ?,’ उनी मलाई हप्काउन थाले ।
म एक जना केटी साथी लिएर गएकी थिएँ ।
म छक्क परेँ । मैले आफ्नो बायोडाटा देखाउन खोजेँ । उनले वास्ता गरेनन् ।
‘यो आफूसँगै लग । एक्लै आएको भए केही हुन सक्थ्यो, अब जागिर पाइँदैन । तिमी जाऊ ।’
म त्यतिबेला टिलपिल आँखा लिएर बाहिरिएकी थिएँ । त्यो बेलाको ह्युमिलेसनले आफैंप्रतिको आत्मविश्वासको धज्जिया उडेको थियो ।
तर, पनि म आफ्नो सपनामा अडिग नै भएँ । पत्रकारिताका पाइला चल्दै गएँ । यस्ता घटनाहरू पटकपटक दाहोरिए । ‘रिसोर्ट जाने हो’ भनेर तर्सिएकी मलाई अब विभिन्न मखुण्डोधारीहरूले बेफिक्री सोध्न थाले, ‘डिनर टुनाइट ?’
कोही भन्थे, ‘हामी साथी बनौँ, एकदम मिल्ने साथी ।’
कोही भन्थे, ‘२४ वर्षपछि तिम्रो आँखा देखेर मेरो मुटुमा प्रेम पलायो ।’
कोही भन्थे, ‘तिमी झमझम पानीमा रुझेको देखेर मैले झ्यालबाट हेरिरहेँ, तिमीलाई जस्तै मलाई पनि झरी मन पर्छ ।’
सँगै रिपोर्टिङ जाने सहकर्मी बेस्सरी बाइक हुँइक्याउँथे । बत्तिँदै आएको हावाले मेरो अनुहार रातो बनाउँदा उनी हाँस्दै भन्थे, ‘डर लाग्यो भने मलाई च्याप्प समात्नू ल । म ब्रेक लगाई–लगाई चलाउँला ।’
कसैसँग यस्ता कुरा सेयर गर्न खोज्दा मलाई जवाफ आउँथ्यो, ‘यस्ता कुरा सामान्य हुन् । ह्या कति सोच्न सकेको ?’ यी र यस्तै खाले विभिन्न कुराले मलाई बिथोलिरहे । मैले धेरै ठाउँमा निरन्तर काम गरिरहन सकिनँ । मैले बाटो मोड्न खोजिरहेँ । सबैबाट दूरी बढाउँदै गएँ । त्यसैले १५ वर्षमा म कसैलाई चिन्दिनँ र कसैले मलाई चिन्दैन । यहाँ मेरो पीआर बहुतै खराब छ ।
ल ल ल
कामका दौरान विभिन्न वर्ग, क्षेत्रका महिलासँग मेरो कुराकानी भइरहन्थ्यो । एक पटक वैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरूको जीवनबारे स्टोरी बनाउने सोचेँ । केही महिलालाई भेँटेँ । लेख्नु थियो, उनीहरू किन बिदेसिए ? विदेशमा के–के भोगे ? नेपाल कसरी फर्किए ? अहिले नेपालमा के गरिरहेका छन् ? उनीहरूको कहालीलाग्दो कथा सुनेपछि म कयौँ रात अनिदो बसेकी छु । ताप्लेजुङबाट बिमला कुवेत पुगेकी थिइन् । आफ्ना श्रीमान् सडक दुर्घटनामा परेपछि उनी बच्चाहरू छोडेर बिदेसिएकी थिइन् । नयाँ कामको खोजीमा उनी हिँडेको बाटामा भोगेका हिंसाको कुनै हिसाब थिएन ।
उनले सुनाएकी थिइन्, ‘दलाल, दलालका साथीले रक्सी खाएर दुर्व्यवहार गरे । सँगै बसेको होटेलमा मेरो कोठामै आएर बलात्कार गरे । मेरो साथमा पैसा पनि थिएन । पासपोर्ट उनीहरूसँगै थियो । विदेशमा लगेर बेच्ने हुन् कि भन्ने डर थियो ।’
कुवेतमा घरेलु कामदार भएर काम गर्न सुरु गरेपछि उनको जीवन झनै अन्धकार बन्यो । भन्थिन्, ‘बिहान ६ बजेदेखि काम लगाउँथे । घर सफा गर्ने, भाँडा माझ्ने । उनीहरूका घरको सबै काम गरिसकेर उनीहरूको आफन्तको घरमा गएर काम गर्नुपर्थ्यो । अलिकति थाकियो, बिरामी पर्‍यो पनि भन्न पाइँदैन थियो । साउ र साउनीले धेरै पटक बेहोशै हुने गरी लात्ताले मेरो कोखामा हानेका छन् ।’
उनी भन्थिन्, ‘म मरे पनि अब त्यहाँ जान्न । नेपालमै केही गर्छु, खान नपाए पनि आफ्ना छोरा छोरीलाई हुर्किरहेको देख्न त पाउँछु ।’ उनलाई त्यो मानसिक आघातले जीवनभर बिथोलिरहनेछ । उनले आफ्ना ढाडमा लगाएको टाँका देखाउन खोज्दा मेरो शरीरमा काँडा उम्रिएको थियो ।
अर्को कथा छ, झापाकी रूपाको । उनलाई श्रीमान्–हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाइयो । उनको प्रेम विवाह भएको थियो रे ! तर, विवाहपछि प्रेम बाँकी रहेन । श्रीमान्ले उनलाई दिन–रात रक्सी खाएर कुट्थे । घरपरिवारले श्रीमान् रिझाउन नसकेकी भनेर उनकै खेदो खन्थ्यो । एक दिन रक्सी खाएर आएका श्रीमान्सँग कुटपिटका क्रममा उनका श्रीमान् ढले । मुखबाट फिँजैफिँज आउन थाल्यो । आँखा बटारियो । अस्पताल लैजाँदा लैजाँदै श्रीमान्को ज्यान गयो । उनको परिवारले तत्कालै श्रीमान् हत्याको अभियोगमा प्रहरी बोलाएर उनलाई जेल पठायो । उनी २८ वर्षकी मात्रै थिइन् । साथमा एक वर्षकी छोरी । उनलाई जन्मकैदको सजाय भयो । अबको जिन्दगी के गर्ने ? उनलाई पत्तो थिएन । न माइती, न घर, उनलाई कसैले वास्ता गरेनन् । उनले यो कथा सुनाइरहँदा आफूलाई सम्हाल्नै मुस्किल भएको थियो । धेरैपटक म पनि उनीसँगै भक्कानिएकी थिएँ ।
कहिलेकाहीँ सोच्छु, देशका नागरिकलाई यो हदसम्म गर्न बाध्य बनाउने यो राज्यविरुद्ध एक मुद्दा चलाइदिऊँ ! फेरि म नाथे को हो र भनेर कोठाको ढोका बन्द गरेर बस्छु ।
उनीहरू र मैले बाँचेको जीवन बिलकुलै फरक थियो । मेरो जीवनलाई खुसी र सम्पन्न देख्थेँ ।
महिलाहरूलाई अवसर छन्, तर उनीहरू बोल्ड हुनुपर्छ रे । तर, मलाई त पटक–पटक यही क्षेत्रका ठेकेदारहरूले चुप गराए । म बोल्नै सकिनँ । म बिरामी परिरहन्थेँ ।
एकपटक एक सम्पादक आफैंले भनेका थिए, ‘तिमी कति बिरामी
परिरहन्छौ ! कहिले के हुन्छ, कहिले के । छोड्देऊ यो पत्रकारिता । खुरुक्क ९ टु ५ जागिर खाऊ । बरु मै खोजिदिउँला ।’
ल ल ल
५ वर्षको कहालीलाग्दा दिनरात र आफैंसँगको जटिल संघर्षपछि मैले बिस्तारै मेरा तत्त्वहरू केलाउँदै गएँ । मेरो साइको थेरापिस्टले म माथि धेरै विधि प्रयोग गरे । बल्ल–बल्ल पत्ता लाग्यो यी गाँठाहरू भर्खरै बनेका पनि होइन रहेछन् । ६ वर्षकी बालख हुँदादेखि नै बन्दै गएको गाँठाहरू थिए । बालयौन हिंसाको गाँठो, बाबाको वियोगको गाँठो, एक्ली आमाको संषर्घका दौरान हुने चिडचिडापनले बालमनस्थितिमा टन्किएको गाँठो, त्यसपछि यो समाजले गरेको हेँलाको गाँठो, अभाव, वियोग, शारीरिक रोग अनि बालयौन हिंसाको चक्र । यी यस्तै गाँठाहरू त्यतिबेला बेस्सरी टन्कियो, जब बाहिरी समाजमा फेरि यस्तै–यस्तै घटना र पात्रहरूको सामाना गर्नुपर्‍यो ।
वर्षौंदेखिको गाँठो कस्सिँदाकस्सिँदा म सासै फेर्न नसक्ने भएँ । विभिन्न पारिवारिक–व्यक्तिगत परिस्थिति, वातावरण, समाज र यो समाजमा हुर्कंदै गएको म । ट्रमा थेरापीका क्रममा देखापरेका यी गाँठाहरू बिस्तारै फुकाउनु जरुरी थियो । आफूले आफैंलाई धेरै माया गर्नु नै यसको पहिलो पाइला थियो । सबै कुरालाई पछि छोडेर मैले आफूलाई रोज्नु थियो । म केही वर्षपछि ओछ्यानबाट उठेँ, अनि प्रकृतिसँग नजिक भएँ । मलाई ती भयानक आवाजहरूले तर्साउन छोडे । ती डरलाग्दा अनुहारहरूले गिज्याउन आएनन् । तर, मेरो बालमनस्थितिमा जरो गडेर बसेको आघातको खाटा भने अझै छ ।
मान्छे बिन्दास हुनुपर्छ रे । सबै कुरा मनमा लिनु हुँदैन रे । तर, सबैले सबै कुरा क्याजुअली लिन पनि सक्दैनन् । मेरो साइकोथेरापिस्ट भन्नुहुन्छ, ‘आफूलाई ध्यान दिनुस् न ! तपाईं किन समाज, देश, राजनीतिबारे सोचेर चिन्ता लिनुहुन्छ ? तपाईं समाचार नै नहेर्नुस् । नपढ्नुस । नलेख्नुस् । संसारमा यस्ता कुरा भइरहन्छन् । तपाईं बस् आफूलाई माया गर्ने काम गर्नुस्, बाँकी ठेक्का लिन संसारका ठेकेदारहरू छँदै छन् नि ।’
म फिस्स हाँस्छु ।
यो देशमा हुने घटनाहरूले, बेथेतिले मलाई मात्रै हो र फ्रस्टेटेड बनाउने ? के तपाईंहरूको रगत उम्लिँदैन ? दिन–रात तिनै सत्ता र शक्तिका गुणगान गाउँदा, हाकिमको चाकडी गर्दा आएको तलबले दिने खुसी नै तपाईंको जीवन हो र ?
ल ल ल
डिप्रेसनको बादल झन्–झन् बाक्लिँदै थियो । मैले मेरो सपना देखेको पत्रकारिता क्षेत्र पनि छोडिसकेकी थिएँ । निरन्तरता पनि म कसरी दिन्थें र ! मानसिक आघातबाट गुज्रिरहेका बेला केही ‘ठूला’ भनिएका व्यक्ति सान्त्वनाका शब्दसहित नजिक हुन्थे । हिचकिचाउँदै उनीहरूले सहयोग गर्न दिएको हात थाम्दा तिनले मलाई बेस्सरी निमोठे, मेरो आशा, सपना, भरोसा सबै
निमिट्यान्न पारिदिए । पत्रकारितामा मेरो पखेटा काटियो । अनि फेरि सोच्न बाध्य भएँ, यो समाज मेरा लागि हुँदै होइन । ‘रिपोर्टिङ होइन, रिसोर्ट’ भन्ने आशयका वाक्य पटक–पटक दोहोरिइरहे विभिन्न पात्रबाट, विभिन्न क्षेत्रबाट । ‘मिडियामा यस्तै त हो नि’ भन्ने तुच्छ प्रतिक्रिया सुन्नुपर्ने डरले म यस क्षेत्रबाटै टाढिएँ । ती पात्र आज–भोलि पनि समाजमा उच्च विचारधारा भएका व्यक्तिको छवि बोकेरै हिँडिरहेकै छन् । डुलिरहेकै छन्, बेफिक्री ।
ल ल ल
‘आजकल त लेख्नै छाड्नुभयो त ?,’ मेरा एक शुभचिन्तकले मलाई फेरि यो प्रश्न सोध्नुभयो ।
‘लेख्न छाडेकी त छैन । विषयवस्तु फरक परेका हुन् । अनि लेख छापिन पनि,’ यही भन्न मन थियो । तर, फिस्स हाँसेर टारिदिँए । धेरैजसो कुरालाई फिस्स हाँसेर टार्न सिकेकी छु । यो जवाफ नदिई टार्नसक्नु पनि एउटा कला रहेछ । सबै प्रश्नका जवाफ पनि त हुँदैनन् । भए पनि कसैलाई दिइरहन जरुरी छ र ?
तर, सायद आज–भोलि मलाई केही लेख्नै मन लाग्दैन । या भनौँ
लेख्नै आउँदैन ।
लेखिरहने मान्छे लेख्न छोडेपछि बहुलाउँछ रे ! यत्तिका महिना आफ्ना कुराहरू, कुण्ठाहरू नपोखी बसिरहँदा सायद म पनि अलिअलि बहुलाएकी छु । लेखौँ भनेर बस्छु, के–के लेख्छु आफैं पत्तो पाउँदिनँ । कहिले केही लेख्ने विषय थाहा हुँदैन । केको बारेमा लेखौँ ? कहिले यति धेरै विषयले दिमागमा तान्डब मच्चाउँछन् कि टाउको समात्दा समात्दै महिनौँ बित्छ, तर शब्द फिटिक्कै फुर्दैनन् ।
‘तपाईं धेरै गन्थन नलेख्नुस् । भूमिका बाँध्नु पर्दैन । फ्याक्ट जे हो त्यही लेख्नुस्,’ धेरै समयपछि मिडियामा फर्किएपछि मैले समाचारकक्षमा सुन्नुपरेको वाक्य हो यो ।
तर, फ्याक्ट हो चाहिँ के त ? केलाई फ्याक्ट भन्ने ? हुन त समाचारमा लेख्ने नै फ्याक्ट हो । तर, के हामी सबै फ्याक्ट नै लेखिरहेका छौँ त ? कि हामीले देखेका कुरा सबै फ्याक्ट हुन् ? फ्याक्टलाई फ्याक्ट भनेर जाँच गर्ने कुनै विधि छ र ?
यो समाजका लागि म जब्बर भइसकेँ । चाहेर–नचाहेर यो क्षेत्रमा घुमिरहँदा, दौडिरहँदा म पनि उनीहरूजस्तै भएँ, जवाफ फर्काउने ।
जवाफ नफर्काउँदा उनीहरू मलाई कमजोर भन्थे । ‘यस्तो इन्ट्रोभट पनि पत्रकार भएर खान्छ ?? बोल्ड बन बोल्ड ।’
जवाफ फर्काउने भएपछि भन्छन््, ‘यो केटीको त सोमतै छैन, सिनियरहरूलाई सम्मान गर्न सक्दिन । अलि ठिस छे ।’
‘आफ्नो फाइदाका लागि दुस्मनलाई पनि अँगाल्नुपर्छ’ भन्ने वाक्यलाई मैले अहिलेसम्मको जीवनमा उतार्न सकिनँ । दुईपटक शिर निहुराएर, हात जोडेर नमस्ते गर्ने म अब कसैका अघि पनि झुक्नै सक्दिनँ । तर, यहाँ हात जोडेर नमस्ते गर्ने मलाई पनि अघि बढ्न दिइएको थिएन । ‘पत्रकारहरू बोल्ड हुनुपर्छ’ भन्नेहरूले मेरो कसैसँग नझुक्ने बानी पनि स्विकार्न सकेनन् ।
अब मलाई कुनै पनि विषयले फरक पर्न छाडिसक्यो । कसैले केही भनोस् वा नभनोस्, मलाई चाकडी गर्न आउँदैन । मलाई ती पत्रकारको ठेक्का लिएर बसेकाहरूलाई खुसी पार्न आउँदैन । कोही मेरो जीवनमा होस्, नहोस् मलाई यो समाजमा अटाउन गर्नैपर्ने मीठो भलाकुसारी गर्न आउँदैन । मलाई ठूला–ठूला गफ गर्न आउँदैन । म केही कुरामा प्रतिक्रिया दिन पनि चाहन्नँ । बेतुक लाग्छ ती सब । आफ्ना लागि अरूलाई प्रयोग गर्न पनि आउँदैन ।
‘अवसरहरू ग्य्राब गर्न सिक्नुपर्छ’ भन्ने अर्ती, उपदेश बेलाबेला आइरहन्छन् । तर, विष बनेर आउने यस्ता अवसरहरू अब मलाई कहिल्यै चाहिन्न । मैले आफ्ना लागि सरल जीवन रोजेकी छु । मलाई कसैसँग पीआर बनाउनु छैन । लोकसेवा पनि लड्नु छैन । यो देशको सेवा गर्नु पनि छैन । यसमा सायद अवसरहरू कम छन् । तर, मैले जीवनभर भोग्नुपर्ने मानसिक आघात अब थपिनेछैनन् । धेरै संघर्षपछि मैले आफूलाई आज उभ्याएकी छु, त्यसैले मेरो संसारमा म मात्रै अटाउनेछु । यसमा कसैका लागि ठाउँ छैन ।
‘मेरो बर्कतले भ्याएसम्म यो देशको सेवा गरिरन्छु म,’ २०५३ सालतिर नेपाल टेलिभिजनमा १२ बजेको बाल कार्यक्रम आउनुअघि यो गीत बज्थ्यो । त्यसबेला लाग्थ्यो, यो देशको माया यी गायकलाई जति त कसैलाई पनि लाग्दैन । त्यतिबेला मलाई पनि देशको माया लागेर शरीरभरि काँडा उम्रिन्थ्यो । तर, त्यसपछिका घटनाले र पटक–पटक शरीरमा उम्रिएका काँडाको कुनै मूल्य चुकाउन यो समाजले सक्दैन । त्यसैले अब म आफैंलाई माया गर्न व्यस्त छु । कस्सम ! मलाई मेरो अति नै माया लाग्छ ।

Page 10
कोसेली

किन पढ्ने ? कसरी पढ्ने ?

- मिलन पाण्डे

 

मनोचिकित्सक हर्मन इबिङ्घसका अनुसार, कुनै पनि विषय पढेको २० मिनेटमै हामी ४२ प्रतिशत बिर्सन्छौं । २४ घण्टामा ६६ प्रतिशत, ७ दिनमा ७५ प्रतिशत र एक महिनामा करिब ८० प्रतिशत बिर्सन्छौं । डोनाल्ड आर बेकन र किम ए स्टिवार्टको अर्को एक अध्ययनले भन्छ– विद्यार्थीले पाठ्यक्रममा पढेका अधिकांश विषय दुई हप्तादेखि दुई वर्षसम्ममा बिर्सिन्छन् । धेरै विद्यार्थीमा ‘म पढेको विषय सम्झिनै सक्दिनँ’ भन्ने हीनताबोध हुनेगर्छ । तर, हामीले विद्यार्थीलाई यो बुझाउन सकिरहेका छैनौं कि ‘बिर्सनु एक प्राकृतिक विषय हो ।’ मेरो एउटा साथी थियो, जो परीक्षाका बेला एक दिनअघि नै अन्तिम पाठ पढिसक्थ्यो । जबकि, मेरो आधा पनि सकिएको हुँदैनथ्यो । म एकचोटि पढेर भ्याउँदिनथें, ऊ दुईचोटि पढिसक्थ्यो । तर, पनि परीक्षामा मेरै नम्बर बढी आउँथ्यो, किन ? त्यतिबेला त थाहा भएन, अहिले बुझ्दै छु– पढ्ने भन्ने विषय एउटा सीप रहेछ, कला रहेछ । कोही कम मिहिनेत गरेरै धेरै नम्बर ल्याउँछन्, कोही दिन–रात पढ्दा पनि फेल हुन्छन्, किन ? किनकि हामीलाई कसरी पढ्ने भन्ने त्यो कला, त्यो सीप सिकाइएकै छैन । अझ, कसरी प्रभावकारी रूपमा पढ्ने ? त्यो त त हामीले सिकेकै छैनौं ।

पढ्नै अल्छी लाग्छ
आमाले हामीलाई भान्सामा फर्सी काट्न बोलाउनुभयो भने हामी जाँदैनौं । जान मनै लाग्दैन । तर, यदि हामीलाई घरमा मासु वा पनिर काट्न बोलाइयो भने हामी दौडेर जान्छौं । अझ मासु ल्याएको दिन त घरमा बुबा, आमा, काका सबै भान्सामै भेटिन्छन् । हामीलाई फर्सी पकाउन नलागेको जाँगर, मासु पकाउन किन लाग्छ ? किनकि, फर्सी पकाउने कामले हामीलाई ऊर्जा दिन सकिरहेको हुँदैन । ठूलो ठानिएको उद्देश्यले हामीलाई ऊर्जा दिन्छ । त्यसैले सुरुमै, विद्यालयले विद्यार्थीलाई ‘किन पढ्ने ?’ भनेर जीवनको त्यो उद्देश्य पहिल्याउन सिकाउन सके ऊर्जा त्यही आ–आफ्नो उद्देश्यले दिन्छ ।
यदि डाक्टर बन्ने उद्देश्य हो भने डाक्टर पढ्न १२ कक्षापछि हजारौं विद्यार्थीलाई टप्दै नाम निकाल्नुपर्छ । प्रवेश परीक्षामा नाम निकाल्न ११ र १२ कक्षामा राम्रो गर्नुपर्छ । १२ कक्षा राम्रो गर्न राम्रो कलेज पढ्न एसईईमा राम्रो नम्बर ल्याउनुपर्छ भनेर बुझ्न सके र सपनालाई स्टेप–स्टेप झारेर, भाग लगाएर प्रत्येक खुड्किलाको महत्त्व बुझ्न सके त्यसले हामीलाई सजिलो बनाइदिन्छ र हाम्रो अल्छीपनलाई खाइदिनेछ । नाम निकालेका दिन आमा–बुवाको वा आफूले सबैभन्दा बढी माया गर्ने मानिसको हाँसोको तस्बिर आँखाअगाडि राख्न सके त्यसले हामीलाई ऊर्जा र प्रेरणा दिन्छ ।
मेरा एक मित्र ताराजी हुनुहुन्छ, जसले १२ पढ्दै सेतो कोट लगाएको आफ्नो फोटो भित्तामा टाँसेर पढ्नुभयो र पछि नाम निकालेर डाक्टर पनि हुनुभयो । प्रत्येकचोटि त्यो सेतो कोट लगाएको तस्बिरले उहाँमा पढ्ने जाँगर जगाउँथ्यो । जसरी हामी बच्चा छँदा एक घण्टाका लागि साइकल भाडामा लिएर दुई घण्टापछि मात्रै विभिन्न बहाना बनाएर फर्काउने गर्थ्यौं, त्यसैगरी पढाइ पनि हाम्रो त्यस्तै लगाव बन्न सके जीवनमा हामी सफल हुन अरू कुनै सूत्र चाहिने थिएन । जब पढाइमा विद्यार्थीको लगाव जोडिन्छ, तब पढाइ बोरिङ होइन, रमाइलो हुन थाल्छ ।

कसरी हटाउने अल्छीपन ?
लेखक, प्राध्यापक डा. ग्लोरिया मार्कको अध्ययनअनुसार, सन् २००४ मा अफिसमा मानिसहरू काम गर्दा औसत २ मिनेट ३० सेकेन्डसम्म एकाग्र रहन सक्थे । त्यो सन् २०१२ मा आउँदा ७५ सेकेन्डमा झर्‍यो भने २०२२ मा ४७ सेकेन्डमा । एकाग्रता नहुनु र ‘ढिलासुस्ती’ हुनु हाम्रो आजको सबैभन्दा ठूलो समस्या हो । यसलाई कसरी हटाउने भन्ने सबैभन्दा ठूलो चुनौती हो आजको । ‘ढिलासुस्ती’ वा अल्छीपनलाई कम गर्न यी तरिका अपनाउन सकिन्छ ।
१) टु मिनेट रुल
अल्छीपन मार्न सबैभन्दा पहिले हामीले एउटा मन्त्र आत्मसात् गर्नुपर्छ । त्यो हो, ‘पर्फेक्ट वातावरण कुर्ने होइन, सुरु गरिहाल्ने हो’ । आज नयाँ किताब किनेर ल्याएर पढ्छु भन्ने सोचेर वा भोलि किताब मिलाएर पढ्न थाल्छु भनेर पढ्ने योजना बनाउने हो भने त्यो विद्यार्थीको पढाइ सुरु हुनै सक्दैन । न भोलि त्यो नयाँ किताब आउँछ, न पढाइ नै सुरु हुन्छ । त्यसैले, सबै वातावरण मिलाएर पढ्छु भन्नु अल्छीपनको सबैभन्दा बलियो लक्षण हो ।
यो बानी हटाउन हामी ‘टु मिनेट रुल’ अपनाउन सक्छौं । चर्चित लेखक जेम्स क्लियरले आफ्नो पुस्तक ‘एटमिक ह्वाबिट्स’ मा उल्लेख गरेझैं हामीले ठूलो सफलता हासिल गर्नु छ भने सानो सुरुआत गरिहाल्नु जरुरी छ । उदाहरणका लागि, म्याराथन दौडने लक्ष्य निकै चुनौतीपूर्ण लाग्न सक्छ । त्यो लक्ष्य प्राप्तिका निम्ति स्पोर्टस जुत्ता लगाउने काम पहिलो स्टेप हो भनेर सुरु गर्ने हो भने, त्यसले हामीलाई प्रेरित गरेर अगाडि बढाउँछ । यसका निम्ति २ मिनेट पनि लाग्दैन । यो गतिविधिले ऊर्जा दिन्छ, बानी पार्छ । १०० पेजको किताब लेख्छु भन्ने उद्देश्यलाई दिनको एक पेज लेख्छु भनेर सुरु गर्दा सजिलो हुन्छ । दिनको एक घण्टा व्यायाम सुरु गर्न गाह्रो छ, तर ५ मिनेट हिँड्ने काम सजिलो छ । यो ‘टु मिनेट रुल’ ले उद्देश्यलाई स्टेप स्टेपमा टुक्र्याउँछ, सजिलो अनुभूति गराइदिन्छ । एउटा बच्चालाई तिमीले जीवनमा १०० ट्रक भात खानुपर्छ भन्नुभन्दा, दिनको ४०० ग्राम खाना खानुपर्छ भन्नुमा फरक छ ।
२) ॅडेडलाइन’ तोकौं, जवाफदेही बनौं
जबसम्म काम सक्ने ‘डेडलाइन’ तय हुन्न, तबसम्म काम हुन्न । मानौं १७ गते परीक्षा छ भने हामी कति गतेबाट पढ्न सुरु गर्छौँ ? योजना त १ गतेबाटै पढ्छु भन्ने बन्छ, तर हामी अधिकांश १६ गते बिहान मात्रै आत्तिँदै तात्ने गर्छौं । अझ म त कहिले–कहिले १७ गतेको परीक्षाका निम्ति १६ गते रातिबाट मात्रै तात्न थाल्थेँ । हामी विद्यार्थीको सबैभन्दा ठूलो कमजोरी नै यही हो । यदि परीक्षाका लागि १० दिन बाँकी छ भने हामीले त्यसलाई १० दिनमा कति पाठ पढ्न बाँकी छ भनेर भाग लगाउनु जरुरी छ । मानौं, १० वटा पाठ बाँकी छ भने हामीले दिनको एउटा पाठ पढ्ने तालिका बनाउनु जरुरी छ । यसरी ‘यति गतेसम्म यो पाठ सक्छु’ भनेर म्याद तोकिनु जरुरी छ । यसरी म्याद तोकेर, तालिका बनाउन त सजिलो छ, तर पालना गर्न निकै गाह्रो छ । त्यसैले, ‘एक्सन’ चाहिन्छ । र, त्यो ‘एक्सन’ का निम्ति टु मिनेट रुल लगाउन सकिन्छ । जब हामी ‘डेडलाइन’ राख्छौं अनि कोहीप्रति जवाफदेही हुन्छौं तब मात्र काम सक्छौं । यो मानवीय प्रवृत्ति नै हो । त्यसका लागि कोही दाइ–दिदी वा परिवारका सदस्य वा कोही शिक्षकसँग आफूलाई उक्त म्याद राखेको दिन कति सकियो भनेर सोध्न अनुरोध गर्नुपर्छ । फेरि जवाफदेही बनाउनुपर्ने मानिसले दिनका दिन, छिनका छिन सोधेर डिस्टर्ब गर्ने होइन, त्यो सक्छु भनेको दिन सम्झाउने हो । आफूले मान्ने मान्छेप्रति जवाफदेही हुनुपर्दा हामी थप जिम्मेवार बन्ने गर्छौं ।
‘मैले यति गतेसम्म यो पढेर यत्ति सकेँ भने म यो रमाइलो गर्छु’ वा ‘यो खान्छु’ वा ‘एउटा फिल्म हेर्छु’ वा ‘कोहीसँग कुरा गर्छु’ भनेर आफैंलाई पुरस्कृत गर्दा त्यसले पढ्न प्रेरित गर्छ । आफैंलाई पुरस्कृत गर्दा त्यसले पढ्ने क्रममा ऊर्जा पनि दिन्छ । निरन्तर पढ्नुभन्दा पढ्ने, रमाइलो गर्ने गर्दा थप प्रभावकारी हुन्छ ।

कति पढ्ने ?
शिक्षाविद् डलरेस डर्किन्सले सयौं घण्टा अध्ययन गरेर, कक्षाहरूको अवलोकन गर्दा के पाए भने, शिक्षकहरू आफ्ना विद्यार्थीको पठन–क्षमताको आकलन त राम्रैगरी गर्दा रहेछन्, तर तिनलाई बुझेर पढ्ने तरिका फिटिक्कै सिकाउँदा रहेनछन् । के पढ्ने भन्ने विषय त विद्यार्थीलाई सिकाइयो, तर कसरी पढ्ने भन्ने तरिका शिक्षकले विद्यार्थीलाई सिकाउनै सकिरहेका छैनन् । कसरी पढ्ने भन्ने विषयमा म प्रोफेसर स्कट ब्रुउइक्नर र मार्टी लोब्डेलको बुझाइसँगै आफ्नै बुझाइ यहाँ लेख्न चाहन्छु ।
‘आज मैले लगातार ९ घण्टा पढेँ’, वा ‘आज मैले दिन–रात पढेँ’ भनेर हामी गर्वसाथ आफ्ना उपलब्धि सुनाउँछौं । तर, यहाँ हामीले छलफल गर्नुपर्ने महत्त्वपूर्ण प्रश्न के भने त्यसरी पढ्दा हामीले कति सम्झियौं त ? हामी पढ्छौं वा किताब अगाडि बस्छौं अनि सबै बिर्सिन्छौं । त्यसरी प्रभावहीन तरिकाले पढेर के काम लाग्यो त ? म हामीले पढ्दा अपनाउन सकिने केही तरिकाबारे चर्चा गर्छु–
१) पढ्दै, आराम गर्दै
कति समय लगातार पढ्ने भन्ने धेरै अध्ययन भएका छन्, धेरै पुस्तक लेखिएका छन्, तीमध्ये अधिकांश अध्ययनको निचोड छ– पढ्दा हामी सुरुमा १० मिनेट र अन्तिमको १० मिनेट राम्ररी बुझ्छौं । सुरुमा ऊर्जा हुन्छ र अन्त्यमा एकाग्रता राम्रो हुन्छ । हाम्रो मस्तिष्कले नै त्यसरी काम गर्छ । अर्थात्, हामीले ९० मिनेट पढ्यौं भने सुरुको १० मिनेट र अन्त्यको १० मिनेट प्रभावकारी रहन्छ । बीचको ७० मिनेट धेरै प्रभावकारी हुँदैन । लगातार ९० मिनेट पढ्नुको साटो बरु त्यो ९० मिनेटलाई ३ भागमा बाँडेर ३०–३०–३० मिनेट पढे, त्यही ९० मिनेटमा पनि हरेक पढाइका लागि सुरुको १० मिनेट र अन्त्यको १० मिनेट गरेर ६० मिनेट प्रभावकारी हुन्छ र हामी बढी सम्झिन सक्छौं ।
म चलनचल्तीको ‘पोमोडोरो तरिका’ मा अलिकति संशोधन गरेर यहाँ प्रस्तुत गर्दै छु । यो तरिकाअनुसार, हामीले एक बसाइमा ३० मिनेट पढ्दा प्रभावकारी हुन्छ । २५ मिनेट पाठ पढ्ने, ५ मिनेट आफूले पढेको सरर्र दोहोर्‍याउने । यसरी ३० मिनेट पढेपछि, अब ५ मिनेट आराम गर्ने । यसरी ५ मिनेट आराम गरेपछि फेरि ३० मिनेट पढ्ने र फेरि ५ मिनेट आराम गर्ने । यसरी आराम गर्दा मोबाइल चलाउने होइन, खेल्न जाने होइन । यसरी आराम गर्दै गर्दा जीउ तन्काउने, पानी खाने अनि शान्त बस्दा एकाग्रता फर्काउन सकिन्छ । यसरी चारचोटि छोटो ब्रेक गर्दै ३०/३० मिनेट पढेपछि अब अलि ठूलो ३० मिनेट ब्रेक लिने । यो ब्रेकमा भने केही खाने, बाहिर निस्कने गर्न सकिन्छ । अनि, फेरि यसरी नै ४ चोटि ३०/३० मिनेट पढ्न थाल्ने । यो तरिका निकै प्रभावकारी मानिन्छ ।
२) पढाएर पढ्ने
महान् व्याख्याता तथा चर्चित भौतिकशास्त्री रिचार्ड फेनम्यानले ‘बुझेर पढ्ने’ तरिका सुझाएका छन्, जसलाई ‘फेनम्यान टेक्निक’ भनिन्छ । यो टेक्निक त्यस्ता विषयमा लगाउन सकिन्छ, जसलाई विद्यार्थीले ‘बुझेर पढ्नुपर्ने’ हुन्छ । यसमा ४ वटा स्टेप हुन्छन् । पहिलो स्टेपमा कुन टपिक पढ्ने ? त्यो छान्ने गरिन्छ । दोस्रोमा, उक्त टपिकलाई शिक्षक बनेर अरूलाई वा आफैंलाई बुझाउने गरिन्छ । तपाईंले साथी, भाइबहिनी वा आमाबुवा वा कोही नभए खाली कुर्सीलाई भए पनि पढाउन सक्नुहुन्छ । तेस्रो स्टेपमा त्यसरी पढाउँदा कहीँ रोकिए किताब वा नोट हेरेर बुझाउन सकिन्छ । चौथो स्टेपमा भने, अब आफूले पढाएको विषयलाई अन्य उदाहरण वा कथासहित थप सरल बनाएर बुझ्न सकिन्छ । बुझ्ने सबैभन्दा प्रभावकारी तरिका अरूलाई पढाउने हो । भनिन्छ, अरूले पढाएको सुन्दा पाँच प्रतिशत सम्झिइन्छ भने आफूले अरूलाई पढाउँदा ९० प्रतिशतसम्म सम्झिन सकिन्छ ।

पढाइलाई रसिक बनाउने
पढाइसम्बन्धी अनुसन्धानबाट निरन्तर के स्पष्ट हुँदै आएको छ भने कुनै पनि विद्यार्थीले अर्कोसँग ठ्याक्कै मिल्ने गरी पढ्दैन । जसले आफैं राम्रो गरिरहेका छन्, उनीहरूले आफ्नै शैलीमा पढ्दा हुन्छ । तर, जसले पढ्दा पनि राम्रो गर्न सकिरहेका छैनन् उनीहरूका लागि यी उपाय प्रभावकारी छन् ।
१) २–१–० तरिका
कुनै पाठको कुनै भाग पढेपछि हामी प्रायः अर्को भाग पढ्न थालिहाल्छौं । तर, सिधै अर्को भाग पढ्न सुरु गर्नु हुँदैन । हामीले पढेको भाग छोपेर आफूले कति सम्झिएँ भनेर लेख्ने वा भन्ने प्रयास गर्नुपर्छ । लेखेपछि, किताब खोलेर कस्तो भयो भनेर आफ्नो बुझाइ सरर्र हेर्नुपर्छ । उदाहरणका लागि, ‘वायु प्रदूषण कसरी रोक्ने ?’ भन्ने विभिन्न बुँदा पढेपछि हामीले पढेको उक्त विषयलाई आफैंले लेख्ने प्रयास गर्नुपर्छ । लेखेपछि वा भनेपछि फेरि किताब खोलेर सरर हेर्ने र यदि आफूले राम्रो गरेको छु भने उक्त शीर्षकमा पेन्सिलले २ (नम्बर) दिने । यदि ठीकठाक छ भने १ (नम्बर) दिने र यदि केही पनि मिलेन वा आएन भने ० (नम्बर) दिनुपर्छ ।
एक चोटि पढेपछि ० र १ लेखेको शीर्षकलाई फेरि दोहोर्‍याउने र फेरि त्यस्तै गर्ने । अब बिस्तारै १ लेखेको काटिएर २ बन्दै जान्छ र ० लेखेको १ र १ लेखेको २ हुँदै जान्छ । यसरी जबजब ०, १ बन्छ अनि १, २ बन्दै जान्छ, त्यसले हाम्रो प्रगति देखाउँछ र ऊर्जा दिन्छ अनि आत्मबल थप्छ । निराश पढाइमा यस्ता तरिकाले रमाइलो भर्ने काम पनि गर्छ । तर, यो तरिका गणितजस्ता विषयमा भने लागू गर्न सकिँदैन ।
२) फ्ल्यास कार्ड
कुनै पनि शब्दको अर्थ वा परिभाषा सम्झिन गाह्रो हुन्छ । शब्द तलमाथि गर्दा वा अर्को पाठ पढ्दा हामी बिर्सन्छौं । अनि साँच्चै भन्ने हो भने परिभाषा पढ्दा साह्रै अल्छी पनि लाग्छ । त्यसैले शब्द–शब्द एकोहोरो घोक्ने तरिका गलत हो । शब्दको अर्थ वा परिभाषा पढ्ने सही तरिका भनेको सुरुमा शब्दको पूर्ण परिभाषा पढ्ने । त्यसपछि परिभाषामा प्रयोग भएको प्रत्येक शब्दको अर्थ पढ्ने । यसरी शब्दको अर्थ खोज्न समय लाग्छ, तर अर्थ खोजेर पढ्ने हो भने धेरै सम्झिन सकिन्छ । तेस्रोमा, बुझेपछि शब्दको आफ्नै भाषामा परिभाषा बनाउने र अन्त्यमा त्यसलाई थप उदाहरणबाट बुझ्ने तरिका अपनाउँदा लामो समय सम्झिन सकिन्छ ।
यसरी शब्दको अर्थ घोक्दा एउटा कार्ड (तासको पत्तीजस्तो) मा शब्द अगाडि लेख्ने अनि पछाडि त्यसको अर्थ राखेर पढ्दा सम्झन सजिलो हुन्छ । यस्ता महत्त्वपूर्ण परिभाषाको कार्ड टेबलमा छरिएर रहन सक्छन् । बेलाबेला त्यस्ता कार्ड एउटा उठाउँदै त्यसको अर्थ भन्ने र पछाडि हेरेर सम्झँदा पनि धेरै सिक्न सक्छौं । यस्ता फरक–फरक तरिका अपनाइराख्दा पढ्दा रमाइलो हुनेगर्छ ।
३) कण्ठ गर्ने तरिका
केही विषय भने बुझेर पढ्न सकिँदैन । हामीले कण्ठ गर्नुपर्छ । कुन अंग्रेजी महिनामा कति गते हुन्छ ? वा पिरियडिक टेबलका तत्त्वहरूको नाम वा नौ ग्रहका नाम वा कसैको जन्म मिति । यस्ता कुरा सम्झिन विभिन्न तरिका अपनाउन सकिन्छ । उदाहरणका लागि मेस्सीको जन्म मिति सम्झिन मैले मेरो जन्ममितिभन्दा दुई वर्ष, ३ दिनअघि हो भनेर सम्बन्धित गरेर सम्झेको छु । यदि यो मिति मलाई सम्झनै छ भने अब मलाई सजिलो भयो ।
अर्को महत्त्वपूर्ण ट्रिक हो ‘नेमोनिक’ र ‘एक्रोस्टिक’ को प्रयोग गर्नु । जस्तै मलाई पसल गएर चम्सुरको साग, मसला, तरुल, काउली र रहरको दाल ल्याउनु छ भने मैले अब यो ५ वटा वस्तु सम्झिन एउटा शब्द (नेमोनिक) बनाउन सक्छु । यहाँ मैले ‘चमत्कार’ भनेर सम्झिएँ भने अब ५ वटै कुरा सम्झन सक्छु । सम्झिन हामी ‘एक्रोस्टिक’ को प्रयोग पनि गर्न सक्छौं । उदाहरणका लागि, बागमती प्रदेशका १३ जिल्लाको नाम सम्झिन एउटा लाइन सम्झिन सकिन्छ, जस्तै ः ‘काठमाडौंमा लभ गर्छन् दोलखाकी सिनुधा र चितवनका कासिराम’ (१. काठमाडौं, २. ल–ललितपुर, ३. भ–भक्तपुर, ४. दोलखा, ५. सि–सिन्धुपाल्चोक, ६. नु– नुवाकोट, ७. धा– धादिङ, ८. र– रसुवा, ९. चितवन, १०. का– काभ्रेपलान्चोक, ११. सि– सिन्धुली, १२. रा– रामेछाप, १३. म– मकवानपुर) ।
सम्झने अर्को तरिका भनेको शब्द वा अंकलाई टुक्र्याएर, मिलाएर पढ्ने हो । मनोचिकित्सक जर्ज ए मिलरका अनुसार, हामी एकचोटिमा ७ वटा (व्यक्तिअनुसार ५ वा ९ सम्म) शब्द वा अंक सम्झिन सक्छौं । त्यसैले नम्बरहरू कण्ठ गर्दा पनि १० वटा नम्बरभन्दा त्यही नम्बरलाई ३ वा ४ वटा भागमा टुक्र्याएर सम्झिँदा बढी सजिलो हुन्छ । फोन नम्बरहरू सम्झँदा यो विधि लगाउन सकिन्छ ।
नम्बरकै कुरा गर्दा गणितमा केही हिसाब ट्रिकका रूपमा पनि सजिलै सम्झिन सकिन्छ । उदाहरणका लागि– अन्तिममा ५ अंक आउने कुनै पनि नम्बर (उदाहरण– ३५) को वर्ग निकाल्न सजिलो छ । त्यस्तो नम्बरका अगाडिको नम्बरमा एक थपेर त्यही नम्बरसँग गुणन गर्ने अर्थात् ३ लाई एक बढाउँदा ४ हुन्छ । ३ र ४ गुणन गर्दा १२ हुन्छ । अनि, पछाडिको ५ को वर्ग निकाल्ने र सँगै राख्ने अर्थात् ५ को वर्ग २५ हुन्छ । सजिलै ३५ को वर्गको हिसाब नगरी हामी अब १२२५ लेख्न सक्छौं । त्यस्तै ६५ को अब हिसाबै नगरी ४२२५ लेख्न सकिन्छ । यस्ता धेरै ट्रिक छन् । ११ सँग कुनै पनि नम्बर गुणन गरेर आउने नम्बर सजिलै निकाल्न सकिन्छ । उदाहरण ५४ र ११ को गुणन गर्दा सिधै त्यो ५ र ४ जोड्दा आउने ९ लाई त्यो नम्बर को बिचमा राखेर अन्तिम हिसाब दिन सकिन्छ । अर्थात्, ५४ र ११ को गुनान गर्दा ५९४ हुन्छ । यस्ता केही ट्रिकले हामीलाई निकै सजिलो बनाउँछ । क्यालकुलेटर प्रयोग गर्न नदिइने परीक्षामा यस्ता ट्रिकवाला हिसाबले विद्यार्थीलाई सजिलो पार्छ ।
केही कण्ठै गर्नुपर्ने कुरा सम्झिन प्रयोग हुने अर्को तरिका हो ‘मेमोरी प्यालेस’ अर्थात् सपनाको महल खडा गर्ने । यो प्रक्रियामा तपाईंले आफूलाई फिल्म निर्देशकका रूपमा उभ्याउनुपर्छ । हाम्रो मस्तिष्कले चित्र सहज रूपमा लामो समयसम्म सम्झिन सक्छ । अझ पृथक् घटनाहरू त झन् बढी सम्झन्छ । यो तरिकामा आफूले एकदम राम्रोसँग चिनेका ठाउँमा घटनाहरूको सिर्जना गरिन्छ । उदाहरणका लागि हामीलाई पिरियडिक टेबलका तत्त्वहरू सम्झनु छ भने तपाईं अब आफ्नो घरमा कथा बनाउन सक्नुहुन्छ । मैले यहाँ परिचित उदाहरण दिएर बुझाउन चाहेँ । मानौं, तपार्इं घरको आँगनमा घाम तापेर बसिरहनुभएको छ । घाम भन्नेबित्तिकै सूर्य र सूर्य हाइड्रोजन (पिरियडिक टेबलको पहिलो तत्त्व) बाट बनेको हुन्छ । घाम चर्को हुँदै जाँदा म घरभित्र पसेँ । ढोकामा उडिरहेका बेलुनहरू थिए । बेलुनमा हिलियम हुन्छ । यहाँ अब हिलियम (दोस्रो तत्त्व) सम्झिनुपर्छ । घरभित्र पस्नेबित्तिकै भुइँमा ब्याट्रीहरू फालिएको थियो । ब्याट्री लिथियमबाट बनेको हुन्छ, अब लिथियम (तेस्रो तत्त्व) सम्झिनुपर्‍यो । अब पिरियडिक टेबलको चौथो तत्त्व हो, बेरिलियम । बेरिलियम सम्झिन बेरी (फल) सम्झिँदा पनि हुन्छ । ब्याट्री उठाएर टेबलमा राख्न जाँदा टेबलमा बेरी थियो । यसरी कथा बुन्दै हामी हामीलाई चाहिने कथा बनाउन सक्छौं । कथा जति बेतुकको भयो त्यति विद्यार्थीले सम्झिन्छन् । केही विषय भने अभ्यास नै गर्नुपर्ने हुन्छन् ।
जस्तै ः भाषा सिक्न तपाईं हामीले बोल्नैपर्छ । संवाद गर्नैपर्छ । चाइनिज सिक्न बोल्ने नै हो, अरू उपाय छैन । त्यस्तै, गणित वा लेखाजस्ता विषयमा जान्ने तरिका भनेको पनि अभ्यास, अभ्यास अनि अभ्यास नै हो ।

पढ्दा ध्यान दिनुपर्ने ३ बानी
हाम्रो धेरैवटा किताब पढ्ने बानी हुन्छ । विभिन्न किताबमा लेखेको भाषाले हामीलाई धेरै अन्योल बनाइरहेको हुन्छ । त्यसैले पढेको सम्झिन धेरै किताब पढ्ने होइन, एउटा राम्रो किताब धेरैचोटि पढ्नु नै सबैभन्दा प्रभावकारी हुन्छ । पढाइलाई प्रभावकारी बनाउन विद्यार्थीहरूले ध्यान दिनुपर्ने पहिलो विषय भनेको सबैभन्दा प्रभावकारी समयमा सबैभन्दा महत्त्वपूर्ण विषय पढ्नु हो । मानौं, बिहान म राम्ररी पढ्न सक्छु भने मैले बिहानको समय अलि धेरै र महत्त्वपूर्ण विषय पढ्नुपर्‍यो । आफ्नो प्रभावकारी समय पहिल्याएर त्यो समयमा महत्त्वपूर्ण कुरा पढ्नु परिणाममुखी रहन्छ ।
दोस्रो महत्त्वपूर्ण कुरा हामी परीक्षामा निद्रा मारीमारी पढिरहेका हुन्छौं । तर, थाकेको शरीरले नयाँ कुरा सम्झन सक्दैन । हार्वडको एक अध्ययन अनुसार, यदि राम्ररी सुत्ने हो भने विद्यार्थीले बिहान उठ्दा राति पढेको विषय ३५ प्रतिशत थप राम्ररी सम्झन्छन् । राम्ररी सुत्दा पढेको सूचना मस्तिष्कमा थप स्टोर भएर बस्ने पाइएको छ । त्यसैले परीक्षाका बेला पनि तयारी राम्रो छ, पढिसकेको छ भने कम्तीमा ७ घण्टा सुत्नैपर्छ । तेस्रो कुरा भनेको यदि पढाइ डिस्टर्ब हुँदैन भने एक्लैभन्दा दुई जना भएर ग्रुपमा पढेको राम्रो । साथीसँग सिक्दा उसले आफ्नै लेभलमा रहेर बुझाउन सक्छ । साथीहरूसँग मिलेर परीक्षाको अगाडि महत्त्वपूर्ण विषय दोहोर्‍याएर पढ्दा प्रभावकारी हुन सक्छ ।

निष्कर्ष
लामार्कको ‘युज एन्ड डिस्युज’ सिद्धान्त पढाइमा पनि लागू हुन्छ । अर्थात्, कुनै पनि विषय प्रयोग गरिएन भने त्यो हराएर जान्छ । कम बिर्सने एक मात्रै उपाय हो, बेलाबेला दोहोर्‍याएर पढ्नु । मनोचिकित्सक सेसिल एलेक मेसले सन् १९३२ मा प्रस्ताव गरेबमोजिम हामीले पढेको कुरा दोहोर्‍याएर पढ्यौं भने बिर्सने गति घट्छ । अध्ययनहरूले पनि के देखाएका छन् भने १ दिन, २ दिन, ४ दिन, ८ दिनमा दोहोर्‍याउने हो भने हामीले पढेको ६० दिनपछि पनि ८० प्रतिशत सम्झन सक्छौं । अनि, पढेको विषय लेख्दा र अरूलाई बुझाउँदा हामीले थप सिक्छौं ।
हाम्रा विद्यालयले विद्यार्थीलाई के पढ्ने त पढायो, तर कसरी प्रभावकारी पढ्ने, त्यो पढाउन सकेन । स्कुल सिकाउने थलो हो । अध्ययनहरू भन्छन्– स्कुलका अधिकांश विद्यार्थीले केही सिक्नै सकेका हुँदैनन् । उनीहरू किताबका कुरा रटेर पास हुन्छन् र कक्षा चढ्दै जान्छन् । त्यसैले, पढ्न असाध्यै अल्छी मान्छन् । अब स्कुलमै के पढ्ने मात्रै होइन, किन पढ्ने र कसरी पढ्ने ? त्यो पढाउनु जरुरी छ ।

कोसेली

पुरुष अहम्को कथा

- जनक कार्की


सामाजिक यथार्थवादी उपन्यास हो– ‘झुमर’ । लेखक सिम्रन क्षेत्रीको यो किताबले महिलामाथिको यताना, अपमानबारे बोल्छ । पुरुषप्रधान समाजमा महिलाले भोग्नुपर्ने हिंसाको पराकाष्ठा किताबमा वर्णन गरिएको छ । अस्तित्व बचाउन महिलाले गर्नुपर्ने संघर्ष छ । अशिक्षित मात्रै होइन शिक्षित महिला पनि कसरी पुरुषसत्ताको जालोमा जेलिनुपर्छ ? यो विषय उठाएको छ किताबले । पुरुषले महिलामाथि गर्ने शारीरिक यौन हिंसादेखि सामाजिक, मानसिक हिंसाका पाटो किताबमा छ । किताब भन्छ– लडेर पनि फेरि उठ्नुपर्छ ।
किताब भन्छ– अहम्का लागि जस्तो पनि अभिनय गर्न सक्छ पुरुष । प्रायः पुरुष वासना प्राप्तिका लागि प्रेम गर्छन् भन्ने उजागर गरिएको छ किताबमा । महिलाको जीवनमा प्रेमी भएर आउने पुरुष र श्रीमान्को रूपमा आउने एउटै पुरुषभित्रको विविध चरित्रको चित्रण गरिएको छ ।
विश्वविद्यालय अध्ययनका
बेलाको प्रेमले पाठकलाई आनन्दित मार्गमा डोर्‍याउँछ । प्रेमपछिको विवाहमा आएको पर्खालले प्रेमीका हुनु र श्रीमती हुनुको भिन्नता चित्रण गर्छ । विवाह तोडेर सपना पूरा गर्न गरेको संघर्षले महिला पात्रलाई बलियो बनाएको छ ।
एक महिला पीडित हुनुमा समाजको संस्कार, परम्परा, अन्धविश्वास, पुरुषसत्ता प्रणाली, सोच हावी भएको हुन्छ । यिनै तत्त्वले महिलाको जीवन कति नाजुक हुन्छ भन्ने कथा वाचन गर्छ ‘झुमर’ ले ।
‘झुमर’ ले पितृसत्तात्मक समाजले महिलालाई कसरी शोषण गरिरहन्छ भन्ने कथा भन्छ । मुख्य पात्र झुमरवरिपरि घुमेको कथा उसको जन्म, पढाइ, प्रेम, विवाह र धोकासम्म पुगेर अन्त्य हुन्छ । अस्तित्वका लागि श्रीमान्को घर छाड्ने निर्णय उपन्यासको बलियो पक्ष हो । घर छाडेर संघर्षले सपना पूरा गरेको विषयले हिंसामा बाँचिरहेका धेरै महिलालाई हिम्मत दिन सक्छ । उपकथामा आउने झुमरकी आमाको संघर्ष पनि उल्लेखनीय छ । ती एकल महिलाले छोरीलाई सक्षम बनाउन भूमिका खेलेकी छन् ।
उपन्यासको भाषा सरल छ । केही शब्दको अर्थमा लेखक प्रस्ट नहुँदा अनर्थ लाग्न सक्छ । जस्तै ः ‘यति राम्री स्वर्गकी अप्सरा आफ्नो अघि देख्दा अलिअलि नशा त चढ्नैपर्‍यो, नत्र लेस्बियन भनेर केटीहरूले हेर्दै नहेर्लान् नि ।’ यहाँ ‘लेस्बियन’ को ठाउँमा ‘गे’ हुनुपर्ने हो । त्यस्तै अर्को एक ठाउँ छ– ‘मनको लड्डु मनैसँग खाऊ ।’ यहाँ उखानको गलत प्रस्तुति छ, हुनुपर्ने हो– ‘मनको लड्डु घ्यूसँग खाऊ ।’ कथामा आउने परिवेश, समय, मौसमको चित्रणको तालमेल मिलेको छैन । टाइम–फ्रेममा समस्या छ । कथाअनुसार, झुमर एक निम्नमध्यमवर्गीय पात्र हो, तर उसको जीवनशैली, रहनसहनले भन्छ– ऊ कुलीन घरकी महिला हो । लेखकले पात्रलाई सही चित्रण गर्न चुकेकी छन् । पात्रहरूको संवादलाई सरलीकरण गर्दा त्यो हल्काफुल्का सुनिन्छ । झुमरले अत्यधिक कफी पिएको वर्णन पाठकलाई तीतो लाग्न सक्छ । लेखकले प्रायः सूक्ष्म वर्णन गर्दा शृंगारपटार, पोसाक र अंगलाई मात्रै महत्त्व दिएकी छन् । कथामा नयाँपन छैन । झुमरलाई साहसी, संघर्षशील, निर्णय लिन सक्ने एक शक्तिशाली नारीको रूपमा प्रस्तुत गरिएको भए पनि अन्त्यमा उसले पूर्वश्रीमान् रौनकसँग पुनर्मिलनको आसा राख्नुले कथा कमजोर बनेको छ ।

कोसेली

सहरमा किताब

- कान्तिपुर संवाददाता

ठाडो भाकाको इतिहास
लेखक लालबहादुर भुजेलको किताब ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ ले ठाडो भाकाको इतिहास खोतल्दै विभिन्न समयक्रममा यसमा योगदान पुर्‍याउनेहरूको चर्चा गरेको छ । किताबले ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेकन् विषयवस्तु पनि केलाएको छ ।
किताब ६ अध्यायमा बाँडिएको छ । पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पुर्‍याएका बौद्धसिं गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, पञ्चसुब्बा गुरुङ, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडिखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पुर्‍याएको योगदानको चर्चा छ । दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ । तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेकन् पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुख–दुःखको लय छ । चौथो अध्यायमा ठाडो भाकाका मुख्य स्रष्टाको परिवार–चित्र उतारिएको छ भने पाँचौं अध्यायमा ठाडो भाकाका रचनाको विश्लेषण गर्ने प्रयत्न गरिएको छ । अन्तिम अध्ययामा भने ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ ।


पुस्तक ः ठाडोभाकाको लोक–सांस्कृतिक इतिहास
लेखक ः लालबहादुर भुजेल
प्रकाशक ः चाँगुनारायण साहित्य समाज
मूल्य ः रु. ५००/–

Page 11
कोसेली

आमा बन्नुको मझधारमा

- सविता आचार्य

 

 

तपाईं किन आउनुभएको ?’
‘...भर्ना हुन ।’
‘एक छिन बाहिरै बस्नुस् है, तपाईंलाई बोलाउनुहुन्छ... ।’
‘हस्,’ नर्सिङ स्टेसनअघि खाली बेडमा टुक्रुक्क बसेँ । रातभरको फल्स लेबर पेनले मलाई गाह्रो भइरहेको थियो । कतिबेला कता टुसुक्क बसिहालौंजस्तो भएको थियो ! घरी नर्सिङ स्टेसनतिर हेर्थें, घरी एड्मिसन रुमतिर । फेरि, कतिबेला बाहिर निस्किने ढोका देखिने ठाउँसम्म पुग्थेँ । निरीह आँखासहित बाहिर बसेका
श्रीमान्लाई भित्रैबाट हेर्थें । उनलाई भित्र आउने अनुमति थिएन । कुनै पनि पुरुष भित्र आउन पाउँदैनथे, सिवाय त्यहाँका डाक्टर ।
धेरै बेर यताउता गरिराखेँ । जीवनको मीठो छटपटाइमा थिएँ म । दार्शनिकले भनेका थिए नि– प्लेजर इन पेन ! हो त्यस्तै । कतिखेरबाट पेन इन प्लेजर पनि हुनेवाला थियो । बस् पर्खंदै थिएँ !
छटपटी बढ्दो थियो । ढोकाबाट चियाएरै हल्का चिच्याएँ, ‘मलाई एकै छिन बाहिर बस्न भन्नुभएको थियो, तर अहिलेसम्म पनि बोलाउनुभएन, कति समय लाग्छ होला अझै ?’
अग्लो कद, सलक्क शरीर र गोरी डाक्टरले छिटोछिटो ओठ चलाइन्, ‘तपाईंलाई कसले बाहिर जान भन्यो ? भर्ना हुन आएको मान्छे यत्तिकै भर्ना हुन्छ ? हामीले यहाँ चेक गर्नुपरेन... !’ अरे कस्तो धारिलो वाणी । झिजो लागेको थियो मलाई । जवाफ त फर्काउनैपर्‍यो ।
‘एकछिन बाहिर बस्नुस् बोलाउँछौं भनेर अघि भन्या होइन ?’
‘बस्नुस् भन्दैमा बसेको बस्यै गर्ने हो ?,’ ए म त बसेको बसेइ भएँछु । खित्रिक्क हाँसे आफैंभित्र ।
धारिली डाक्टर त्यहीँ थिइन् । रुखो बाण
फ्याँकिन् । बोली छुराजस्तै तिखो थियो, संसारमा सबैभन्दा कुन कुरा नमीठो र तीतो हुन्छ,
हो त्यस्तै ।
‘बिरामीसँग कसरी कुरा गर्नुपर्छ भन्ने सामान्य हस्पिटालिटी सिकाउँदैन ? यही हो बोल्ने तरिका ?,’ मलाई असह्य भयो । म पनि के कम !
उनी झन् जोस्सिएर एकाएक पड्किन थालिन्, ‘दिनभरि हामीले कस्ताकस्ता मान्छेलाई झेल्नुपर्छ, हामी मान्छे होइन ? हामीलाई रिस उठ्दैन ? तपाईं पनि मलाई रिस नउठाउनुस् । त्यो बेडमा गएर देब्रेपट्टि लुगा माथि सार्नुस् ।’ यसो सोचेँ । सरकारी अस्पताल यस्तै त हो ।
थोरै शीतल भएँ । धारिली डाक्टर फतफताइरहिन् । मलाई यताउता पल्टिन भनिन् । उनले भनेजस्तै पल्टिएँ । पाठेघरको मुख खुलेको छ कि छैन, जाँचिन् । र भनिन्, ‘एउटा घर खुलेको छ । तपाईं अर्को बेडमा गएर पल्टिनुस् ।’
उनीसँग सवालजवाफ गर्न ममा शक्ति थिएन । तर्क त तातो हाँडीमा मुरली मकैझैं मनमनै पटपटाइरहेका थिए । रातभरिको भमिट अनि त्यो फल्स लेबर पेन ! ओहो ! म गलेकी थिएँ । शक्तिको नाममा सास फेर्ने शक्ति मात्रै थियो होला । उनले भनेबमोजिम अर्को बेडमा गएर पल्टिएँ । पेटभित्र गुडुली परेर संसारमा आउन ठिक्क परी बसेकी मेरो धड्कनको धड्कन ठीक छ कि छैन भनेर कार्डियोटोकोग्राफी गरिँदो रैछ । त्यही बेला सिनियर लाग्ने डाक्टर आए ।
उनले मेरो पेटमा मेसिन लगाउँदै भने, ‘बाबा एक छिन समय लाग्छ, आनन्दले पल्टिराख्नु है !’ अरे ! यस्तो मीठो त आमाले मात्रै बोल्नुहुन्थ्यो । तर, मेरो अगाडि डाक्टर बोले ।
उनले अघि मसँग रिसले फतफताउने डाक्टर बोलेको देखेका रैछन् । भने, ‘खासमा उनको स्वभाव त्यस्तै छ, बोल्ने शैली नै त्यस्तै हो, नराम्रो नमान्नू है... कोही मान्छे त्यस्तै त हुन्छन् । हुन त तपाईंले पनि केही नभनेको भए हुन्थ्यो... ।’ 
‘पेसेन्टसँग त्यसरी नै बोल्ने होला त ?,’ कसैले मलाई गाली गरेपछि आमालाई कुरा लगाएझैं भएँ म ती सिनियर डाक्टरसँग ।
‘हैन नि हुन त, तर कसैको स्वभाव त्यस्तै हुन्छ, ’ डाक्टरले त्यसो भन्दा आमाले कानमा फुसफुसाएझैं लाग्यो– संसारमा सबै मान्छे असल हुँदैनन् नानी... ।
‘हस्पिटल आएर डाक्टर भेटेपछि आधा रोग निको हुन्छ, तपाईंलाई के भयो भन्दै एक पटक छुँदा मात्रै आराम मिल्छ । जस्तै, यही हस्पिटलका डाक्टर पवनलाई देख्दा मात्रै पनि म ठीक हुन्छु... ।’
‘यस्तै हो बाबा माफ गरिदिनू उसलाई... ।’
कसैले चित्त दुखाए माफ गरिदे नानी भन्नुहुन्थ्यो आमा पनि ।
डाक्टरले मलाई मेरो पेटभित्रको धड्कनको धड्कन तलमाथि गरेको देखाए । त्यो देखेपछि म उज्यालिएँ । सबैथोक बिर्सिएँ ।
म त्यहाँबाट निस्केर गएँ । भर्नाको प्रक्रिया सकियो । तर, बेड अभाव थियो । मैले पाएको बेड नर्सिङ स्टेसन अघिकै ह्वाङ्गै बाहिरै थियो । मान्छेको ओहोरदोहोर हुने ठाउँ, त्यसमाथि भर्खर काम थालेकादेखि पढ्दै गरेका बतिलाबतिली नर्सहरूको च्याउँच्याउँ । दिक्कलाग्दो !
अनि त्यहाँबाट बेलाबेला श्रीमान्लाई एकाध झल्को हेर्छु भन्दा पनि देख्न नमिल्ने । मलाई त्यहाँ बस्नै मन लागेन । हामी माथिल्लो तल्लामा रहेको क्याबिनमा सर्‍यौं । अलि महँगो थियो । सुबिस्ता पनि । बेलाबेला नर्सहरू आएर बच्चाको
धड्कन नाप्दै सोध्थे, ‘कस्तो छ तपाईंलाई ?’ तर, पनि मलाई केही खड्किरहेको थियो । मेरो लागि मेरो अभिभावकजस्तै, भनौं, बाजस्तै लाग्ने डाक्टर पवनको अभाव खड्किरहेको थियो । उनी कोभिड लागेकोले बिदामा थिए । तर, बारम्बार फोनमा कुरा भने भइरहेको थियो । एकपटक फोनमा भनेँ, ‘अरू कसैलाई विश्वास गर्न सकिनँ पवन सर ।’
‘त्यसो नभन सबिता, म त्यहीँ छु भन्ने सम्झ...,’ मलाई सान्त्वना दिए । अलि आराम मिल्यो । आँखा चिम्म गरेँ, बा आउनुभो, ‘नआत्ती है नानी...’ भन्नुभो, झुलुक्क मनमा आएर । अनि खै कता जानुभो । पर्सिपल्टको साँझ एक डाक्टर आएर फरर बोलिन्, ‘भोलिका लागि बच्चा जन्माउने प्लान गरौँ...भोलि बुधबार बिहान १० बजे व्यथा लगाउने दबाई दिन्छौं । त्यसले व्यथा सुरु नभए साँझ चार बजे अर्को डोज दिन्छौं । अनि त्यसले पनि भएन भने बिहीबार तपाईंको शल्यक्रियामार्फत बच्चा निकाल्छौं... ।’ डाक्टर अलप हुनुअघि फनक्क टाउको फन्काएर भनिन्, आँखा झिम्क्याउँदै, ‘नआत्तिनू है । कुल भएर बस्नू । केही हुँदैन ।’ अरे... म ट्वाँवाला खुसी भएँ । यो अस्पतालमा कति थरीका डाक्टर !
बुधबार दस बजे म लेबर रुममा गएँ । त्यहाँ मजस्ता धेरै महिला थिए । कोही व्यथा लागेर अया आथ्थु गरेका, कोही भने दुई डोज औषधि दिँदा पनि व्यथा नै लागेन भन्दै थिए ।
औषधिका लागि म एउटा खाली बेडमा पल्टिएकी थिएँ । त्यहीबेला आइन् त्यही रुखो बोलीकी डाक्टर । उनलाई देख्नेबित्तिकै रिस उठेको थियो । तर, सम्हालिएँ । फतफताइन् । चुपचाप सुनेँ । भनेको गरेँ । मभित्र सानो बच्चा उछलकुद गर्दै थियो । त्यो रुखो डाक्टरसामु मभित्रको अर्को आज्ञाकारी बच्चा ल्याएकी थिएँ । अनि, ‘हस्’ भावमा मुन्टो चलाइदिन थालेँ ।
बिहान राखेको औषधिले मलाई कुनै प्रभाव पारेन । साँझ चार बजे थप औषधि राखेपछि म फेरि आफ्नै कोठामा फर्किएँ, श्रीमान्ले बिस्तारै तातेतातेको भावमा डोर्‍याउँदै लगे । डरले, कुतूहलले, उच्छ्वासले, खै के–के भाव एकसाथ थिए अनुहारमा, भावहरूको घम्साघम्सी । हामी नबोली हिँड्यौं । दुखाइ सुरु भएको थिएन । दुखाइ पनि कुरेर बस्नुपर्ने कति मीठो कुराइ होला ! म बसेको क्याबिन थियो– दुइटा बेड भएको । शल्यक्रिया गरेर बच्चा जन्माएको आमा र बच्चालाई कोठामा ल्याइपुर्‍याइयो । आमा अर्धबेहोसजस्तै थिइन् । उनी बरबराइरहेकी थिइन्, ‘छोरी जन्म्यो भन्दा बुवाले के भन्नुहोला ? बुवा त रिसाउनुहुन्छ, मैले कसरी बुवाको अगाडि मुख देखाउने होला ?’ उनको बर्बराहटमा यति सुनेँ मैले । असाध्यै उदास भएँ । उनीसँगैको कोही एक जना महिला सान्त्वना दिँदै थिइन् ।
‘अब जे भयो भयो, बुवाको पीर नगर, म सम्झाउँला ।’ म यता आफैंसँग फतफताउन थालेँ, ‘मान्छे तीन दिन व्यथा लागेर बच्चा जन्माउन नसकेर अपरेसन गरेर अर्ध चेत अवस्थामा छ । तैपनि उसलाई छोरी जन्म्यो भन्ने कुरामा त्यति धेरै चिन्ता... ।’
हस्पिटलका सबै दृश्य हाम्रो समाजको साक्षात ऐना थियो । ऐनाले झूटो बोल्दैन । मनमा अनेक तर्कना आए । आँखा चिम्लिएँ । अचानक आमा आउनुभो– नआत्ती है नानी । बलियो भएस्... । आँखा खोलेँ । आमा बिलाइसक्नुभएको थियो । आमालाई नै सम्झेर घरी बलियो हुँदै थिएँ । घरी असाध्यै कमजोर । आमा हुनुको मझधारको समयमा थिएँ । राति सवा आठ बजेतिर मलाई अर्कै दुख्न थाल्यो । लाग्यो, अब व्यथा सुरु भयो । म डराएर आँखा चिम्म गरेँ । आमा फेरि सुलुत्त आएर मुसुमुसु हाँस्नुभो, आमाका रसिला आँखाले बोले– ‘नआत्ती है नानी, बलियो भएस्... ।’
मलाई असह्य पीडा सुरु भइसकेको थियो । तर, सकेसम्म सम्हालिन खोजेँ । कहाँ सक्नु !
ह्वीलचियरमा राखेर मलाई तल लेबर रुममा लगियो ।
असह्य पीडामा थिएँ । डर, खुसी, आश्चर्य, असह्य पीडाचेत ! सबैको घडा भरिएर मेरो मन हुँडलिएको थियो । पीडाले चिच्याउँदा आँखा टम्म हुन्थे । आमा देखिनुहुन्थ्यो कताकता । फेरि चुप लाग्ने कोसिस गर्थें । एकपटक खोइ त्यस्तै बेला आमा कानमा फुसफुसाउनुभो, ‘ धेरै चिच्याउँदा बल गर्ने ताकत सकिन्छ...नआत्तिएस् नानी... ।’
आँखा चिम्म गर्दा आउने र खोल्दा जाने । के भएको थियो कुन्नि ! सायद मेरो अन्तरमनले आमालाई खोजिरहेको थियो ।
आमाले ‘चिच्याउनु हुन्न’ भनेकाले म चुइँक्क आवाज ननिकाल्ने पक्षमा थिएँ ।
दुखाइलाई पनि एउटा सुन्दर क्षण बनाउनु थियो मलाई । तर, बेलाबेला मृत्युले हात फैलाएझैं लाग्थ्यो, पीडाको असह्यता पार हुँदा ।
सयौंचोटि लाग्यो होला– म त मोर्नी भएँ... ।
छेउमा बसेकी उमा दिदीलाई बेस्सरी समाउँथेँ । चिर्थोथेँ । दिदी मलाई सान्त्वना दिनुहुन्थ्यो, ‘अब एक्कै छिन हो नआत्तिऊ ।’ बेलाबेला आमा त आई नै रहनुभएको थियो ।मलाई अनुमान त थियो यो दुखाइ कति लामो हुन सक्ला । धेरैपटक दुखेर सासै रोकिएलाझैं हुन्थ्यो । आमालाई सम्झिन्थेँ । पीडा कम भएझैं मान्थेँ ।
बाहिर आउन हतारिएको नयाँ मान्छे सम्झिन्थेँ । उसैले पनि हिम्मत दिएजस्तो लाग्थ्यो !
घरी इन्टर्न डाक्टर, घरी नर्सहरू आउँथे । बेलाबेला हात हाल्छन् र दुई, तीन, चार घर खुलेको कुरा सुनाउँछन् । यसो पेटमा हात राख्छु बच्चा माथि नै अर्रो भएर बसेको जस्तो लाग्थ्यो ।
कुनै हालतमा अपरेसन नगरी प्राकृतिक तरिकाले जन्माउने हो मैले भनेर कस्सिएको मान्छे म । उनीहरूको कुराले आत्तिएकी थिएँ । एक जना आएर भनिन्, ‘पानी फोका फुटायौं । अब बल गर्नुस् । धेरैबेर लाग्दैनजस्तो छ, बच्चा घुमिसक्यो ।’ ‘धेरैबेर लाग्दैन’ भनेको सुन्दा थोरै बौरिएँ
कि ! अब मलाई डेलिभरी रुममा लैजान
ह्वीलचियर तयार भयो ।
ओहो ! एक्कासि मुटु नै बाहिर निस्केलाजस्तो डर लाग्यो । अलि पाकी उमेरकी नर्स आएर नम्र भइन्, ‘भित्रसम्म हिँड्न सक्छ्यौ भने हिँडेर जाम् । तिमीलाई सजिलो हुन्छ ।’
त्यो ‘सजिलो हुन्छ’ भन्ने शब्द मात्रैले म
तङ्ग्रिएँ । भनेँ, ‘म हिँड्छु ।’ कति जब्बर हुन्् यिनी । अर्को नर्स फुसफुसाएको सुनेँ । खिस्स हाँस्न मन थियो, तर सकिनँ ।
डेलिभरी रुमको आफ्नै कथा हुँदो रैछ । पीडाले अखप हुँदा पनि कोठाभित्र सर्र आँखा डुलाएँ । अग्लो, तर सानो आकारको कुर्सीजस्तो एउटा ठाउँ थियो । ‘तिमी’ भन्ने मीठो बोली भएकी आमाझैं लाग्ने नर्सले मलाई त्यहाँ चढाइन् । कुन पोजिसनमा बस्ने, कसरी बल गर्ने भन्ने पनि सिकाइन् । मैले त्यही गरेँ । पीडा अखप थियो । एकपटक बल लगाएँ अनि घम्साघम्सीपछि एउटा सुमधुर चिच्याहट मेरो कानमा पर्‍यो– च्याहाँ... ।
आवाजसँगै म निस्लोट भएँ । तर, आवाज भने सुनिरहेकी थिएँ । यो अनौठो कनेक्सन अहिले सम्झँदा पनि बुझ्न सक्दिनँ । बच्चाको ‘च्याहाँ’ सुनेपछि जादुको छडीजस्तै दुखाइ ठप्प भयो । अरे यो के भयो ? कसैले मेरो छातीमा बच्चा राखिदियो । ‘ल च्याप्प समाऊ बच्चा,’ आवाज आएको थियो । बच्चा समाउँदा मलाई एक किसिमको डर लाग्यो । थाहा छैन त्यो कस्तो डर थियो । ‘ल हेर्नुस् त तपाईंको छोरा हो कि छोरी’, निस्लोट आँखा खोल्न खोजेँ । आँखा त खुल्दै खुलेन ! जबरजस्ती आँखा च्यात्न खोजेँ । त्यो पनि सकिनँ ।
बरबराएँ, ‘मैले आँखा हेर्न सकिनँ... ।’
आवाज आयो, ‘तपाईंको छोरी भएको छ ।’ बिस्तारै टाउको हल्लाएँ र मुस्कुराएँ । ‘धन्यवाद’ भन्न सकिनँ सायद, खुसीले ओठ थर्थराएका थिए ।
एकै छिनमा आँखा बिस्तारै खुले । यताउता हेरेँ । सानो एउटा बक्स जस्तोमा मेरी छोरी, मैले भर्खरै जन्माएकी छोरी मुखभरि फिँज निकालेर यताउता हेर्दै थिइन् । मैले उनलाई
एकटकले हेरिरहेँ ।

कोसेली

कोठा

- देवव्रत

 

संसारका सबै सुन्दर चीज
कोठामा कैद गर्न चाहान्छ– मान्छे

सुटुक्क लुकाएर प्रेमिकालाई
पुर्‍याउाछ कोठामा

कोठामा नदेख्दा छोराछोरी र बा–आमा
धकधक गर्छ उसको मुटु

सबैभन्दा राम्रो लागेको क्यानभास,
मन परेका पुस्तकहरु,
बजारमा आँखा लागेको कोट,
फूल र बुट्टादार कार्पेटहरु,
सुन्दर गलैंचा, पर्दा, तन्ना, डस्ना र सिरक
थुपारेको छ कोठामा

हिमाललाई उसले भित्तामै ल्याएर राखेको छ
भित्तामै उमारेको छ जंगल पनि

टाागेको छ सिरान छेवै– पहाड र मधेश
खोला र समुद्र कैद गरेको छ एक्वारियममा
पौडिरहेका छन् माछाहरु त्यहाँ

भर्खरै फ्रेमबाट निस्किएर
दौडिन खोज्दै छन्– वायुपंखी घोडा

चम्किला पत्थर
उसको मालदार दराजमा छन्
हावा र घामलाई कैद गरेको छ एयर कन्डिसनमा
उसको सिलिङको गुलुपमा तैरिरहेको छ सौर्यमण्डल

अत्तरका बट्टामा कैद गरेर सुवास
कााचका फ्रेममा घेरेर आकाश
थुनेर पिँजडामा
संसारको सबैभन्दा सुन्दर पन्छी
ढल्किएर आरामदायी कुर्सीमा
सुनिरहेको छ– संसारकै सबैभन्दा सुन्दर गीतका पंक्ति

बन्धक बनाएर भगवानलाई
राखेको छ कोठाको किनारमा
मधुर हाँसिरहेछ खेलौनाका ओठले
खरिद गरेको छ मुस्कान उसले

यत्तिका थोक भएर पनि
के कुराले छट्पटिएको छ मान्छे ?
किन पूर्णता पाउँदैन उसको
तड्पन ?

यतिबेला के झोंक चलेको छ
कैद गरेर संसारका सबै सुन्दर चीज कोठामा
मान्छे आफैं किन निस्किएको छ कोठाबाहिर ?

कोसेली

हिप्पी युगमा यिङयाङ

- शिवकुमार श्रेष्ठ

 


काठमाडौंमा सामाजिक–सांस्कृतिक हेराफेरी समयानुकूल मात्रै भएको थिएन, बरु यसमा बाहिरी जगत्को प्रभाव र छाप पनि थियो नै । अमेरिका–युरोपमा निकै चलेको हिप्पी संस्कृति यस्तै प्रभावको एउटा आधार थियो जुन नेपालसम्म, काठमाडौंसम्म आइपुगेको थियो ।
सन् ६० को सुरुवातदेखि ७० दशकको मध्यसम्म हिप्पी समुदायको प्रभाव र पहुँचका कारण नयाँ पुस्ताको एउटा हूल भने विचार तथा व्यवहारमा अलग बन्दै गएको थियो— केही स्वच्छन्द स्वरूपमा ।
सहरका कतिपय नाइटक्लब र बारहरूमा रातिसम्म हिप्पी म्युजिक बज्ने गर्थ्यो, कुनै बार र स्केलबिनाको गीत । रक–एन्ड–रोल म्युजिक होस् अथवा डान्स–डिस्कोको स्वच्छन्द शैलीको दबदबा बढेको थियो । त्यही बेला बब डिलन, क्याट स्टेभेन्स, मिक ज्यागरजस्ता पश्चिमा चल्तीका गायकहरू काठमाडौंसम्म सांगीतिक प्रस्तुतिमा आउन थालेका थिए ।
यही माहोल र पर्यटकीय चहलपहलको संकेत बुझेर व्यवसायको अलग दुनियाँमा म छिरेको थिएँ ।
व्यापारका लागि ठमेलभन्दा अघि झोछें उपयुक्त थियो भन्ने लाग्यो । हिप्पी र अरू पर्यटकले झोंछेंलाई फ्रिक स्ट्रिटको नाम दिएका थिए भने नजिकैको स्वयम्भूनाथलाई मंकी–टेम्पल । त्यो बेला म क्षेत्रपाटीमा कम्पाउन्डर बद्रीप्रसाद मालीको घरमा ६० रुपैयाँ महिनावारी तिरेर डेरा लिएर बस्न थालें । हातमुख जोर्ने उपायस्वरूप झोंछेंमा सामान्य सोभेनियर पसल राखेको थिएँ । ओलम्पस क्लबका अध्यक्ष अशोक कर्माचार्यसँग साझेदार बनेको थिएँ । त्योबेला नेपालमा आउने विदेशी पर्यटकका लागि चाहिने मास्क, क्याप, थांका, क्युरियो आदि हाम्रो पसलमा राखिएको थियो । पसल राम्रै चल्दै गयो । झोछेंको उक्त पसलको नाम शिव शोभेनियर थियो, यसमा हाम्रो झन्डै ३० हजार रुपैयाँ लगानी परेको थियो ।
त्यही बेला वसन्तपुरमा २०२३ सालमा यिङयाङ नामको रेस्टुरेन्ट खुल्नै लागेको थाहा पाएँ । संयोगले न्युरोडको पारस होटलमा कहिलेकाहीँ खानपिनमा जाँदा चिनजान भएका अर्का मजस्तै ग्राहक ताहाचलका त्रिलोचननाथ श्रेष्ठ स्वयम यिङयाङ लगानीकर्ता बन्न लागेका रहेछन् । स्पेनका नागरिक मिस्टर क्युरी ओजेदासँग मिलेर झोंछेंमा रेस्टुरेन्ट खोल्न
लागिएको रहेछ ।
त्यो रेस्टुराँको नाम सुन्नासाथै गजबै लाग्यो— यिङयाङ । गरीखाने उपयुक्त बाटो र बन्द–व्यवसायको उपाय खोजिरहेका बेला त्यो नामको अर्थ वा राशिधर्म, वास्तु केही पनि बुझ्नतिर म लागिन । सिधै साझेदार बनिहालें । पछि रेस्टुराँमा जोडिएपछि खोजिनीति गर्दा थाहा पाएँ— यिङयाङ शब्द चिनियाँ भाषा र त्यसमा पनि ताओ धर्मबाट आएको रहेछ । परस्परमा नमिल्ने दुई शक्ति ‘यिङ र याङ’ आपसमा मिलेर यिङयाङ बनेको रहेछ । दुई आधा–आधा मिलेर एक बनेजस्तै अर्थमा, नेगेटिभ र पोजेटिभको संगम । यो अर्थ थाहा पाएपछि पूर्णताको अर्थमा यिङयाङ मलाई अझ सही लाग्यो ।
त्यसबेला नेपालमा, काठमाडौंमा चलेकै रेस्टुराँमा पनि वेटर केटीहरू राख्ने चलन थिएन । यिङयाङ रेस्टुराँमा ३३ जना स्टाफ थिए, यसमा २ जना केटी थिए । स्पेनिस नागरिक क्युरी भने म्युजिक र पब्लिक रिलेसनको काममा खटिएका थिए । रेस्टुराँमा म्युजिक र लाइटको निकै राम्रो व्यवस्था थियो । म्युजिक कस्तो आकर्षक थियो भने एक बोतल बियर खाने, ३ बोतल खाऊँखाऊँ बनाउने र एक कप चिया मात्रै खाएर बस्नेलाई उठेर गइहाल्ने खालको बनाउने । यिङयाङ होटल र रेस्टुराँ एकैसाथ एउटै भवनमा सञ्चालित थियो । आजभोलि वसन्तपुरमा देखिने सुगत होटलमै यिङयाङ चलाइएको थियो । साझेदारमध्ये त्रिलोचनको काम रेस्टुराँ हेर्ने थियो, म भने जिम्मेवारीमा स्टाफ इन्चार्ज थिएँ ।
जर्नेल नरशमशेर राणा लगायत समाजका लब्धप्रतिष्ठित, व्यापारी र राजदरबारका सहयोगी पनि आउँथे त्यहाँ । रेस्टुराँमा आकर्षण बढाउन कहिले फ्रेन्च, कहिले स्पेनिस कुकहरू ल्याइएको हुन्थ्यो । हाम्रो रेस्टुराँ निकै फलिफापको स्थितिमा चल्दै थियो । फरक स्वाद र मीठाससहित संगीतप्रेमीका लागि सहरमा यिङयाङ आकर्षक थलोका रूपमा परिणत भइसकेको थियो ।
यिङयाङमा मधुर बत्ती (लाइट), उत्तम साउन्ड—सिस्टम र स्तरीय खाद्यमेनु राखिएको थियो—काठमाडौंकै नयाँनौलो लाग्ने । यिङयाङमा आगन्तुकहरू दिउँसै पनि नाच्न सक्थे, राति अबेरसम्म बस्न सक्थे । त्रिलोचनले पशुपतिनाथदेखिका साधुसन्त र अरू सडक बालबालिकालाई पनि यिङयाङ बोलाइरहन्थे, खानेकुरा वितरणका लागि । यिङयाङको ल्यान्डलाइन नम्बर थियो— १४९२९ । भिजिटिङ कार्डको स्लोगन थियो— इन द हार्ट अफ द सिटी, लुक फर द सिम्बल ! यिङयाङ
केवल रेस्टुराँ थिएन, एक होटल पनि थियो ।
त्यहाँ बस्न ट्रिपल बेडरुमको शुल्क ६० रुपैयाँ वा ६ डलर तोकिएको थियो । डबल रुमलाई ५० र सिंगल रुमलाई ३५ रुपैयाँ शुल्क राखिएको थियो । त्यसबेलै ‘वेस्ट’ र ‘इस्ट’ कोडमा स्पेनिस, फ्रेन्च तथा अन्य खानेकुराको मेनु राखिएको थियो ।
निकै चल्तीमा रहेको यिङयाङ झोंछेंका निम्ति हिप्पीको चहलपहलजत्तिकै आकर्षणको केन्द्र बनेको थियो ।
तर, यही चकाचौधका माझ एक पटक कस्तो संयोग आइपर्‍यो भने त्यो स्पेनी पार्टनरको भिसाबारे कुरा चल्न पुगेछ । ऊ बिजिनेस भिसामा त थिएन, त्यसबेला यस्तो प्रबन्धको भिसा नै थिएन । कसले हो, त्यसबेलाको प्रहरी–प्रशासनमा कुरा लगाइदिएछ । सायद अध्यागमन अधिकारी वा प्रहरीसँग केही कुरामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ जोडियो कि ?
अनि विदेशीले रेस्टुराँ चलाएको विषयमा आपत् आइपर्‍यो । त्यही कारण उसको भिसा थपिएन । ऊ ‘डिपोट’ हुने भयो । लगत्तै आफ्नो म्युजिक सिस्टमसहितका राम्रा सामान लिएर ऊ गइहाल्यो । अब त्यो पार्टनर गएपछि साझेदारका रूपमा कि त मैले पैसा थप्नुपर्‍यो, कि रेस्टुराँ छाड्नैपर्‍यो ।
सामुमा आइपरेको यो परिस्थितिले मलाई फेरि मर्माहत बनायो । यो स्थितिमा तत्काल पैसा थप्न आफ्नो हैसियत नरहेको अवस्थामा मैले साझेदारी छाड्नुपर्‍यो ।
म फेरि आफ्नै दुनियाँमा फर्किएँ ।
काठमाडौं आएपछि देखेको भिन्न संसार, पर्यटक र व्यवसायको आफ्नै तरंग देखेर मनैमनमा भिन्न खालका योजना बुन्न थालेँ ।
काठमाडौंको स्थापित र रैथाने साथी त्रिलोचनका कारण रमेशशंकर श्रेष्ठ, ज्ञानेन्द्रलाल तुलाधर, गंगा श्रेष्ठ, निर्मल श्रेष्ठसहितका व्यापारिक पृष्ठभूमिका साथीहरू थपिँदै गए । यसैगरी, विदेशीमा न्युयोर्कको राइनो र स्टिव ब्लक, शिव सोभनियर (पसल) का कारण अस्ट्रेलियाको केभिनसँग पनि सम्पर्क बन्यो । अलिपछि केभिनको परिवार लिएर म घुमघाममा पर्वत, मल्लाज गएको पनि थिएँ ।
मेरो जीवन र संघर्षको पहिलो चरणमा जोडिन आएको यिङयाङ अहिले पनि छँदैछ, ठमेलको चाक्सीबारीमा । यिङयाङलाई त्रिलोचनका भाइ तेजेन्द्रनाथले राम्रैसँग सञ्चालन गरिरहेका छन् ।
(नेपालमा धौलागिरि पस्मिनाको ब्रान्डिङ स्थापित गर्ने व्यवसायी श्रेष्ठको प्रकाशोन्मुख किताब ‘भाग र भोग ः मल्लाजतिर फर्केर’ को सम्पादित एक अंश ।)

Page 12
कोसेली

सिमसिमे पानीमा : ३ दशकको लोक–यात्रा

- रेखा शाह

 

मुम्बईको प्रसिद्ध एशराज स्टुडियोमा छु । गुणस्तरीय रेकर्डिङ र सिनेमाको प्राविधिक कामका लागि यो स्टुडियो दक्षिण एसियामै उत्कृष्ट मानिन्छ । सुविधासम्पन्न रेकर्डिङ र सिद्धहस्त प्राविधिकका कारण यसले यो उचाइ लिएको हो । एक गायिकाका रूपमा मेरा लागि यो ठाउँ एक मन्दिर हो । र, यहाँ आएर स्वर–पुष्पले यो स्टुडियो पुज्ने रहर थियो । माता सरस्वतीको कृपा होला, म अहिले मेरो ३ दशकअघिको गीत ‘सिमसिमे पानीमा’ पूर्ण एकोस्टिक बाजागाजाका साथ फेरि रेकर्ड गर्दै छु । संयोग पनि कस्तो ! उता छेवैको अर्को स्टुडियोमा शाहरूख खानको नयाँ फिल्म ‘पठान’ को डबिङ भइरहेको छ । यता प्रसिद्ध साउन्ड इन्जिनियर विजय दयाल र शिखर सन्तोष मेरो भोकल टेक लिइरहेका छन्, म ३० वर्षअघिका ती दिन
सम्झिरहेको छु ।

स्वर्ण दिन, स्वर्ण पदक
२०४९ साल, फागुन महिना पहिलो साता । ‘रेडियो नेपाल’ सिंहदरबारको आँगनमा एक विशेष मञ्च निर्माण गरिएको थियो । प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको ‘राष्ट्रव्यापी लोकगीत सम्मलेन’ मा प्रतिभा प्रस्तुत गर्न देशैभरिबाट नयाँ–पुराना कलाकार ओइरिएका थिए । पाका उमेरका झन् बढी थिए । कोही प्रतियोगितामा भाग लिन आउने थिए, कोही रमाइलो हेर्न । रेडियो नेपालले नेपाली संगीत र सूचनाको जिम्मेवारी बहन गर्थ्यो । आजजस्तो अनगिन्ती रेडियो, टीभी र पत्रपत्रिका थिएनन्, न त सामाजिक सञ्जालै थिए । विभिन्न देशी–विदेशी रियालिटी शो थिएनन् । मनोरञ्जनका लागि अद्भुत र भव्य उत्सव नै त्यस्तै प्रतियोगिता मात्रै हुन्थे ।
उपस्थितमध्ये सबैभन्दा सानी उमेरकी थिएँ म । पहिलोपल्ट त्यस्तो मञ्चमा उक्लेर गीत गाएकी थिएँ, रमाएकी थिएँ र जीवनलाई अञ्जानमै अर्कै मोडमा लैजान सक्रिय भएकी थिएँ । त्यो समय सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छु । गौरव महसुस हुन्छ ।
म सानैदेखि गीत भनेपछि हुरुक्कै हुन्थेँ । स्कुलको कक्षाकोठामा त गाउँथेँ नै, कार्यक्रमहरूमा पनि गाउँथेँ । कसैले ‘गीत गाऊ त नानी’ भन्नेबित्तिकै गाइदिन्थेँ । आमा त भन्नुहुन्थ्यो, ‘बोली फुटेदेखि नै गीत गाउँथिस् तँ ।’ सानै उमेरमा वल्लोपल्लो गाउँसम्म गायिका भन्ने ख्याति फैलिएकै थियो । म पढाइमा त्यति अब्बल त होइन, तर राम्रै विद्यार्थीमा पर्थें । त्योभन्दा बढी गीतप्रतिको मेरो रुचि, अरूसँग मिल्ने बानी र आज्ञाकारी छात्राका हिसाबले सर, मिस र गाउँघरका मान्छेको आँखामै परेकी थिएँ । सबै उमेरकाको मप्रतिको माया बराबरी थियो ।
सबै भन्थे– ‘रेडियो नेपालमा गएर स्वर परीक्षा देऊ, गीत गाऊ । तिमी ठूलो कलाकार बन्छ्यौ ।’ त्यो प्रेरणा पनि थियो मेरा लागि र आशीर्वाद पनि । २०४९ सालमा माध्यामिक तहको पढाइ सकेर काठमाडौं लागेँ । त्यतिखेर मेरा दुई सपना थिए– पहिलो गायिका बन्ने र दोस्रो उच्च शिक्षा हासिल गर्ने ।
धादिङको तत्कालीन धुवाँकोट गाविस–४, रातमाटेमा जन्मेकी म बुवा गणेशविक्रम शाह र आमा रत्नकुमारी शाहभन्दा पनि हजुरबुवा गङ्गाजङ्ग शाह र हजुरमुवा गङ्गादेवी शाहको काखमा बढी खाईखेली हुर्केकी हुँ । घरमै अक्षर आरम्भ गरेदेखि मेरो पहिलो गुरु नै हजुरबुवा हुनुभयो । उहाँकै काखमा बसेर पढ्न सिकें । आज जे छु, उहाँकै प्रेरणाले छु । त्यतिबेलाको समाजमा छोरीलाई घरबाट पढ्न वा अन्य कामका लागि बाहिर पठाउनु कठिन थियो । मेरा हजुरबुवाको बुझकीपनले मैले मेरो सपना पूरा गर्न काठमाडौंसम्मको यात्रा गर्ने अनुमति पाएँ । यति अवसर पाउनु पनि निकै ठूलो उपलब्धि थियो ।
म काठमाडौं आएँ र जीवनको रेखा खोज्दै
सङ्घर्षमा होमिएँ ।
मेरा मामा सुरेन्द्रप्रताप शाह तत्कालीन भक्तपुर जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो । उहाँले गायक बुद्धिकृष्ण लामिछाने दाइलाई बोलाएर भन्नुभयो, ‘ए बुद्धि, मेरी भान्जीलाई रेडियो नेपाल पुर्‍याइदेऊ
त !’ बुद्धि दाइ त्यतिबेला नाम चलेको गायक ! उहाँले मलाई रेडियो नेपालसम्म पुर्‍याइदिनु मात्रै भएन, संगीतकार गणेश परियार दाइसँग पनि भेटाइदिनुभयो । म स्वरपरीक्षा दिन रेडियो नेपाल पुगेँ । स्वरपरीक्षाको फाराम भर्ने समय सकिइसकेको रहेछ । लाग्यो, अब मैले अर्को वर्षसम्म कुर्नुपर्ने भयो । एउटा कुरा गुमे अर्को ढोका खुल्छ भनेजस्तै त्यतिबेलै थाहा भयो, रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगिताको आवेदन खुलेको रहेछ । आवेदनसँगै गीत पनि बुझाउनुपर्ने रहेछ । गीत त थिएन मसँग । त्यतिखेर सम्झेँ, गाउँतिरै गाइने र मैले दर्जनौं पटक गुन्गुनाएको एउटा गीत ।
हाम्रै गाउँको विद्यालयका एक जना कार्यालय सहयोगी दाइको बिहेमा एउटा गीत खूब गाएका थिए मान्छेहरूले । मलाई त्यो लय मन परेको थियो र सजिलो पनि लाग्थ्यो, सङ्गीतको स्वर, सुर र आरोह–अवरोह, श्रुति, नाद आदि बुझेर होइन । आजजस्तो राग, थाट र अलङ्कार जानेर पनि होइन । सुर, बेसुर बुझेर पनि होइन । त्यो गीत राग भूपालीमा आधारित छ भनेर पनि होइन । लोकगीत हुनुको मूर्च्छना वा भाव बुझेर पनि होइन । केवल कान र मनले छानेको थियो त्यो गीत । गीतका शब्दहरू केही फरक खालका थिए । बिहेमा गाइएका गीतका शब्द त अलि हल्का र उत्ताउलो खालका थिए । रेडियोमै गाउनेखालका जस्ता राम्रा
लागेनन् । मैले थेगो उही राखेर शब्द परिवर्तन गरेँ–

न हौ पर आऊ वर वर
तिम्रो म छु मेरो पो को छ र ?
सिमसिमे पानीमा
ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा ।

जसरी सिमसिमे पानीले बिस्तारैबिस्तारै शरीर भिज्दै–भिजाउँदै लैजान्छ, ठीक त्यसै गरी बेमाइनीले पनि जीवनमा बिस्तारै बिस्तारै बेइमान गर्दैगर्दै जान्छ । पानीले थाहै नदिई शरीर चीसो पार्दै लगेजस्तो बेइमानीको जाल पनि बिस्तारै कसिँदै कसिँदै जान्छ । त्यतिखेर त के बुझेँ, कति बुझेँ थाहा छैन, तर आज सम्झँदा यो गीतको गहिराइ कति गम्भीर रहेछ भन्ने लाग्छ । त्यो गीत मनैबाट फुटेको थियो । त्यो उमेरमा यी शब्द कसरी आए मनमा ? अहिले अचम्म लाग्छ । मैले प्रतियोगिताका लागि गीत लेखें, लय बनाएँ र गीतसहित निवेदन बुझाएँ । मेरो गीत छनोटमा पर्‍यो । मनमा केही उत्साह, केही डर, केही चञ्चलता र केही रमाइलो लिएर म प्रतियोगितामा सामेल भएँ ।
एशराज स्टुडियोमा राजु सरदार र उनको समूहले तबलालगायतका रिदम बजाइरहेका छन् भने सोमु सोलले गितार र विजय ताम्बेले बाँसुरी । यो दृश्यसँगै यतिखेर म रेडियो नेपालको त्यो रौनक सम्झिरहेछु ।
सारी र चौबन्दी चोली लगाएर गएकी थिएँ । कसैले भन्यो, ‘सारी होइन, गुन्यु, चोली लगाएर पटुकी बाँध्नुपर्छ ।’ परेन फसाद ! बलदेव शाह अंकल साथमा हुनुहुन्थ्यो । हामी कुद्दै भृकुटीमण्डपको हङकङ बजार गयौं । अंकलले एउटा गुन्यु र पटुकी किनिदिनुभयो । मञ्चको पछाडिपट्टि छेल पारेर गुन्यु, चोली लगाएँ, पटुकी बाँधेँ । भर्खर १६ टेकेकी मात्र थिएँ । गुन्यु मलाई सुहाएजस्तै लाग्यो, म चिटिक्क परेँ । सँगै हुनुभएकी माया निराशी दिदी भन्दै हुनुहुन्थ्यो, ‘आहा ! कति राम्री !’ म हाँसेँ मात्रै । मेरो जीवनकै पहिलो स्टेज । पहिलोपटक मञ्चमा उक्लँदा मुटु नै फुत्त बाहिर निस्केलाजस्तो भयो । नाम उच्चारण हुनासाथ कता तिर्मिराएजस्तो, ओठ तालु सुकेजस्तो भो, शून्यजस्ती भएँ । छेउमै बसेर गणेश परियार दाइले हार्मोनियम बजाइरहनुभएको थियो । मेरो पालो आएपछि मैले दिल खोलेर गाएँ, ‘...सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा... !’ गाउन थालेपछि लय र गीतका हरफ बाहेक केही याद भएन ।
गीत गाउन सुरु गरेदेखि नै हुटिङको वर्षा भयो । बाफ् रे बाफ् ! हुटिङ र साइँसाइँ सुइँसुइँ ! सिठ्ठी फुकेर, हल्ला गरेर सबै उफ्रे ! मान्छेले खचाखच भरिएको रेडियो नेपालको आँगनी तात्यो । सिंहदरबारभित्रका सबैजसो कर्मचारी, आर्मी, प्रहरी, अरू कलाकारको घुइँचो थियो । त्यतिबेला अहिलेजस्तो सिंहदरबार छिर्न समस्या थिएन । सर्वसाधारणसमेतको विशेष घुइँचो थियो । तल दर्शकदीर्घाबाट वान्स मोर, वान्स मोर, रेखा, रेखा भनेको सुनेँ । पहिलोपटक त्यस्तो भीड देख्दा म नर्भस पनि भएँ । गाइसकेपछि भने आनन्द महसुस गरेँ ।
अब नतिजाको प्रतीक्षा थियो । पहिले त ‘गाउन पाए भैगो नि’ जस्तो लागेको थियो । पुरस्कारकै त अपेक्षा थिएन, तर त्यो हुटिङ र हल्लाखल्ला भएपछि र धेरैले मन पराएपछि चाहिँ पुरस्कृत हुन्छु कि भन्ने आस पनि लाग्यो । प्रतियोगिता रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । क–कसले उद्घोषण गर्नुभएको हो, अहिले सम्झना त छैन, तर ती उद्घोषकले समेत मेरो गीत र मेराबारे धेरै कुरा बोलिरहेका थिए । त्यति रमाइलोमा पनि मैले गाउँ र हजुरबुवा–हजुरआमा–बुवा–आमालाई बिर्सन सकिनँ । भन्न मन लागेको थियो, ‘कति कोसिस गरेर काठमाडौं आएकी म । लौ हेर्नुस् त, कस्तो मजाले गीत गाएँ !’ तर, त्यो सम्भव थिएन ।
मेरी आमाका ४ सन्तानमध्ये एक जना भाइ ८ वर्षमै बितेर गए । अरू दुई भाइहरू सञ्जय र राहुल सानै थिए । हाम्रो ठूलो परिवार । आज यी हरफ लेख्दा त मेरा बुवा, हजुरबुवा दुवै जना हुनुहुन्न । हजुरबुवा महाभारत खूब पढ्नुहुन्थ्यो, लय हालेर, भाका हालेर । पाण्डव र कौरवका कथा । अभिमन्युका कथा । कृष्ण, अर्जुन र धृतराष्ट्रका कथा । धर्मयुद्ध, सत्यको जित आदिआदि । मेरो लयतिरको आकर्षणको कारण पनि त्यही हो सायद । हजुरआमा पनि लय हालेर गाउनुहुन्थ्यो । हजुरबुवा, हजुरआमाका तिनै काखमा बसेर तिनैतिनै पुराना लय सुनेर हुर्कें म । स्कुल गएपछि पनि स्कुलकै प्यारी भएँ । सर, मिसले माया गर्नुभयो । साथीभाइले माया गरे ।
धादिङ एउटा उर्वर माटो । त्यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका धेरै कवि, कलाकार छन् । धेरै भाका छन् । लोकगीतको संसारै छ । माथि हिमाल, हिमाली बस्ती, पहाड कन्दरा र तल समथर फाँट र टार । देवीदेउराली, जात्रा र उत्सवको संगम र ती सबैको प्रभावले नेपाली लोकगीतलाई धेरै योगदान दिएको छ ।
प्रतियोगिता सकियो । अब पालो निर्णय सुनाउने । तेस्रोबाट सुरु भयो । दोस्रोमा आइपुग्यो । मेरो नाम आएन । प्रथमै हुन्छु पनि भन्न सकिनँ र आस मार्न पनि सकिनँ । अनेक भूमिका बाँधेर अन्त्यमा मेरो नाम उद्घोषण हुँदा म अवाक् थिएँ । आफैंलाई अचम्म लाग्यो । रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा म प्रथम भएँ । यो खबर सबैतिर पुग्यो । धादिङमा पनि पुग्यो । मेरो गाँवैमा पुग्यो । पक्कै पनि मेरो घरको रेडियोले पनि मेरै नाम भन्यो । हजुरबुवा, हजुरआमा र बुवाआमाकहाँ पुग्यो । सबै खुसी हुनुभयो । सबैले झन् माया र आशीर्वाद दिनुभयो । तत्कालीन सूचना तथा सञ्चारमन्त्रीबाट नगद ५ हजार र ताम्रपत्र ग्रहण गरेँ । यसरी ‘सिमसिमे पानी’ ले प्रथम स्थान हासिल गरेको र मेरो जीवनको रेखा परिवर्तन गरेको ३० वर्ष भयो ।

सिमसिमे पानीमामाथि बेइमानी
यसबीच धेरै किसिमका गीत गाएँ । लोकगीत, आधुनिक गीत र पपशैलीका गीत । नेपाल र भारतका विभिन्न स्टुडियोमा पुगेर गाएँ । भिडियोहरू बनाएँ, तर ‘सिमसिमे पानी’ लाई उछिनेर कुनै गीत अघि गएनन् । कहिलेकाहीँ लाग्छ, किन होला यस्तो ? यसका आ–आफ्नै भाष्य होलान्, परिभाषा होलान् । तर, यो गीत गीतै भएर कालजयी भएजस्तो लाग्छ । न यसको शब्दमा बनावटीपन छ, न लयमा केही नक्कलीपन । यो हृदय फुटेर निस्केको मूल हो । कलाकार हुने र कलाको नामबाट चर्चित हुने मोह नभईकन, यो त गायिका हुने रहरको धागोमा उनिएर आएको गीत हो । त्यसैले यो हिट भयो भन्ने लाग्छ । र, आज यो गीत मेरो मात्रै नभई स्वदेश, विदेशका सबै नेपालीको साझा गीत बन्नपुग्यो ।
म रेडियो नेपालमा प्रथम भएपछि म्युजिक नेपालले एउटा एल्बम रेकर्डिङका लागि प्रस्ताव गर्‍यो । खासमा उसले रेडियोमा प्रथम हुनेलाई बोलाएर एल्बम निकाल्दोरहेछ । मैले सहर्ष स्विकारेँ । त्यतिबेला चर्चित भएका गायक प्रेमराजा महतले युगल गाउने प्रस्ताव गरे । मैले अग्रजलाई सम्मान गर्दै त्यो पनि सहर्ष स्विकार गरेँ । मलाई त गाउनु थियो, एल्बम निकाल्नु थियो । कानुनी कुरा मलाई थाहा भएन । एल्बम प्रकाशन हुँदा मेरो नभएर प्रेमराजाकै नाममा प्रकाशन भएछ । प्रतिलिपि अधिकारको कानुन बनिसकेको थिएन र मैले गीतमाथिको मेरो अधिकारबारे बुझेकै थिइनँ । रोयल्टीजति उनैले बुझे । यो गीत र ममाथिको अन्याय मैले ३० वर्ष चुपचाप सहें र लामो सङ्घर्षपछि यही वर्ष मात्रै मेरो सृजनाको पूर्ण अधिकार लिएरै छाडेँ ।
अहिले ३० वर्षपछि यसलाई फेरि नयाँ रूप र साजबाजमा प्रस्तुत गरेकी छु । वाद्यवादक र एरेन्जरका रूपमा गीतकार गणेश परियार, गायक–वाद्यवादक आइसिङ लामालगायतले यस गीतलाई आजसम्म जीवन्त बनाइदिन अहम् भूमिका खेल्नुभयो । यसलाई अर्को पुस्तासम्म पुर्‍याउन र यसमा अझै कसी लगाउन यसपालि थप कोसिस गरेकी छु । प्रविधिले दिएको नयाँ शिल्प, नयाँ ढङ्गको रेकर्डिङ, साजबाज र संगीत संयोजनसहित मुम्बईको एशराज स्टुडियोमा पुनः रेकर्ड गरेकी छु । रूपेश थापाको निर्देशनमा उच्च सिनेम्याटिक शैलीको म्युजिक भिडियो बनेको छ । र, यसले फेरि एक पटक पक्कै सबैको मन जित्छ भन्ने विश्वास छ ।

गीतको भाग्य
कुनै पनि गीतको भाग्य र भविष्य कसरी निर्धारण हुन्छ ? के हो कारण र कसरी बाँचिरहन सक्छ एउटा सिर्जना ? यो बहसको विषय हो, तर आज म यही गीतसँगै हजुरबुवालाई सम्झिरहेकी छु, जसको प्रेरणाले यहाँसम्म आइपुगेँ । मेरा दुई सपना लैङ्गिक शिक्षामा स्नातकोत्तर सकेँ र गायनलाई रहर मात्रै नबनाएर जीवन्त बनाएँ ।
‘सिमसिमे पानी’ जस्तै रैछ जिन्दगी । जिन्दगी पनि सिमसिमसिमसिम भएर बिस्तारै अघि बढ्दोरहेछ । ३० वर्ष लामो यो कला–यात्रा आजसम्मै जारी छ । धेरै आए जीवनमा बाङ्गा घुम्ती, तर हारिनँ, हार्दै हारिनँ । म कलामा जति कोमल छु, निजी जीवनमा उति नै आँटी र कठोर छु । समस्यालाई कुल्चेर जीवनलाई सजिलो तरिकाले अघि बढाऊँ भन्ने लाग्छ ।
धुवाँकोट, रातमाटेबाट देखिने उत्तरतिरका हिमाल र त्यहीँ माथिको ढुङ्गे देउरालीमा पनि फूल फुलेको देखेकै हुँ । ती पाखा र रनवनको पर सुनिने मधुर लयको सङ्गीतको व्याकरण मैले बुझुँला, नबुझुँला तर ती भाकाप्रतिको माया अथाह छ । आँखु, आँसी, थोपल, त्रिशूलीजस्ता खोला र तामाङदेखि चेपाङसम्मको संस्कृतिमा यही सिमसिमे पानी गुन्जिन्छ । धादिङका मेला–महोत्सव र कार्यक्रममा यो गीतले ठाउँ
पाएकै छ ।
कलाकार हुँ, त्यससँगै नारी हुँ, छोरी हुँ, आमा हुँ र सामाजिक सम्बन्धका यी सबैलाई झेलेर जीवनको यो चरणसम्म आएकी छु । तर, तपाईंहरूको मायाका कारण गीतमै जस्तो भन्नुपरेको छैन :
न हौ पर आऊ वर वर
तिम्रो म छु मेरो पो को छ र ?

कोसेली

पुस्तान्तरका अनौठा बहस

- अभि सुवेदी


नेपालमा पुस्ता परिवर्तनको बहस हुन थालेको छ । बहस राजनीतिक दलबाट अनौठो किसिमले निस्किँदै छ । दलहरूले पुस्तान्तरको बहस गर्नु अत्यन्तै आवश्यक छ, तर त्यसको प्रयोग कसरी गरिन्छ ? त्यो हेर्नुपर्छ ।
राजनेताहरूले पुस्तान्तर चेतनाको संवेदनामाथि नेपालमा गम्भीर बहस गरेको भने देखिएन । तर, नेपाली राजनीतिमा पुस्तान्तरको चर्चा केही वर्षदेखि तीव्र भएको छ । अहिले त्यो दलहरूका चिन्ताको विषय भएको छ । शक्तिमा बसेका नेताहरूको समय सकियो, अब नयाँ पुस्ताका नेता आउनुपर्‍यो भनेर बहस निस्के । शक्तिमा आउने वा छानिने उमेर हदको सीमा पनि हेर्ने अभ्यास भए । कति शक्तिमा झुन्डिएर बस्ने पाकाहरूलाई यो मनपर्ने कुरा भएन ।
म पनि पाको पुस्ताको मानिस हुँ, तर मलाई पुस्तान्तरको बहस एउटा एकेडेमिक विषय लाग्छ । राजनीतिमा नेतृत्व गर्नेहरूका लागि त्यो बहसको अर्कै अर्थ छ । तर, राजनीतिक दलहरूलाई जसरी भए पनि पुस्तान्तरको बहस उठाएकामा जस दिनैपर्छ । दलमा नयाँ पुस्ताका नेता आउनुपर्छ, बूढाहरूले बिगारे, आदि इत्यादि बहस भए । गएको चुनावमा निकै रिक्टर स्केलको भैंचालो गएको हो । चुनाबमा असर पार्ने यही पुस्तान्तरको बहस थियो, जसले देखिने परिणाम ल्यायो । मेयरहरूको चुनावमा अनि नयाँ खुलेका दलहरूमा पुस्तान्तर चेतनाको लहर आयो । भर्खरैको कुरा त हो सबै ।
अहिले आएर राजनीतिबाट उठेको यो पुस्तान्तरको बहस अल्मलिएको छ । नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने भनेका पुराना पार्टीका युवा नेताहरू ‘हामी अर्को पुस्ताका हौं, लौ हामीलाई छान्नु पर्‍यो’ भन्ने खालको तर्क लिएर आए । हामी सबैले सुन्यौं । त्यति बुझेनौं, तर सुन्यौं । अनि भने, ‘होइन अघिल्लो पुस्ताका वृद्धहरू भएका दलभन्दा अलग्गै अर्को नयाँ पुस्ताको दल खोलौं’ । अनि दलहरू खुले पनि । विभिन्न नेताहरूका उदय पनि भइरहेका छन् । तर, पुस्तान्तरको चेतना र बहस तिनमा त्यति भइनसकेको हो कि जस्तो देखियो किनकि ती दलहरू आफ्ना अलग्गै किसिमका समस्यामा अल्झिन थालेका उदाहरण देखिए । यसले नेपालमा पुस्तान्तरको बहस र चेतनाको लहरले खासै काम नगरेको देखायो । त्यसैले नेपालमा पुस्तान्तरको बहसका दुईवटा चरित्र देखिए । पहिलो, यो राजनीतिक दलबाट निस्केको कुरा भयो । दोस्रो, त्यस रचनाले गम्भीर पुस्तान्तर बहसलाई त्यति प्रतिविम्बित गरेन । तर, अहिले जति हलचल भएको छ त्यसैमा पुस्तान्तरको चेतनालाई हेर्नुपर्छ । यो लेखको उद्देश्य त्यही हो ।
पुस्तान्तरको विषयमा चाख भइबस्ने मैले जर्मनीका कार्ल मानहाइमको आरम्भिक मूल सैद्धान्तिक किताब ‘एस्सेज अन द सोसियोलोजी अफ नलेज’ (१९५२) को बहस पढें । समकालीनहरू आफ्ना जीवन बनाउने इतिहास र मूल्यहरूका साझा अनुभूति गर्छन् जुन पुस्ता चेतना हो र त्यो परिवर्तन हुन्छ भन्ने वैचारिक अवधारणाको विश्लेषण गरेका छन् मानहाइमले । उनका धारणामा समाज बचाउनुपर्छ, त्यसलाई नयाँ बनाउनुपर्छ, जसको मन्त्र पुस्तान्तर चेतना हो । तर, पछिका केही विद्वान्ले भने– नयाँ र पुराना पुस्ताका कुरा गरिबस्नुको केही अर्थ छैन । उनीहरूले भने– यो त नयाँ र पुरानो पुस्ताको कुरा होइन, वर्ग रचनाको कुरा हो र वर्ग संघर्षको कुरा हो । यसो बुझ्दा पुस्तान्तरणको बहस पश्चिमी समाज अध्ययनबाट आएको देखियो । दोस्रो विश्वयुद्धपछिका वर्षमा बालक जन्मिने क्रम अलिक बढी नै भएकाले त्यसलाई बालजन्म मैत्रीकाल वा ‘बेबी बुमर’ समय भनेर मानक बनाएका हुन् । मिलेनियल वा हजार वर्षे युगचक्रको अर्थमा भनिने कालखण्डजस्ता शब्दावली प्रयोग गरेर उनीहरूले यसरी आफ्नो समय र पुस्ताको चरित्रमा आधारित छलफलहरू विश्वप्रसिद्ध बनाए ।
पश्चिमी नयाँ पुस्ता सन् साठीका दशकदेखि विश्वमा प्रभाव पार्ने किसिमले आयो । अमेरिका र अरू पश्चिमी मुलुकमा नयाँ पुस्ता आँधीजस्तो गरेर आयो । उनीहरूका सहरहरूमा युवाको पुस्ता सन् १९६८ प्यारिस क्रान्तिदेखि आफ्ना कुरा राखेर निस्किए । तर, पश्चिमी युवा पुस्ता एसियाका प्राचीन नगरीहरू काबुल, इन्तनबुल, बनारस, काठमाडौंका साँगुरा गल्लीहरूसम्म आइपुग्यो । हिप्पी नामधारी त्यो युवा लहर पश्चिमी समाजको नयाँ पुस्ता थियो । तिनीहरूको त्यो नयाँ पुस्ता हाम्रा गल्ली र टोलमा छरियो । हामी युवा पुस्ताका नेपालीले त्यो पश्चिमी पुस्तान्तरको उछाल थियो भन्ने सुरुमा बुझेनौ ।
विश्वविद्यालयको विद्यार्थी थिएँ म । यसै आकर्षित भएर हिप्पीहरूको महिमामण्डन गर्ने भएँ । मेरा केही साथीहरू पनि उपासक भए । युवा पुस्ताका तिनीहरूको गम्भीर अध्ययन गर्ने क्रम अलिक पछि भयो । अमेरिकाका विद्वान् मार्क लिट्टेले नेपालमा पश्चिमी हिप्पीहरूको व्यापक अध्ययन गरेर ‘फार आउट’ (२०१७) किताब लेखे ।
त्यसमा नेपाल मण्डलका एक जना सायद पुरानो पुस्ताका व्यक्तिलाई मार्कले यी हिप्पीहरूलाई पुस्तान्तरको हिसाबले कसरी हेर्नुहुन्छ भनेर सोध्दा ती मानिसले भनेका छन्, ‘नेपालका युवक साहसी र बहादुर भएका हुनाले तिनको सन्तान जन्माउन उताका युवती आएका हुन् (पृष्ठ २४२) ।’ यो नेपालको पुरानो पुरुषवादी पुस्ताको दृष्टि हो । ती नागरिकले आफ्नो समाजको नयाँ पुस्ताको अर्थ बुझेकै थिएनन् किनभने यहाँ पुस्तान्तरको बहस नै भएको थिएन र अहिले बल्ल केही हुँदै छ ।
नेपालमा पुस्तान्तरको चेतना साहित्यमा केही व्यक्त भएको छ । त्यसलाई अध्ययन गरे हुन्छ । तर, यहाँ साहित्यकार र राजनीति गर्नेहरूले पुस्तान्तरलाई कसरी हेर्छन् भन्ने कुरा चाखलाग्दो छ । साहित्यमा जस्तो राजनीतिमा पुस्तान्तर भावात्मक रूपमा आएको देखिएन । सर्वमान्य नेता गणेशमान सिंहले राजनीतिमा नयाँ पुस्ताले ग्रहण गर्न नसकेको र बुझ्न नसकेको पीडा व्यक्त गरेको एउटा सम्झना छ । बाउन्न–त्रिपन्न सालतिर एउटा गोष्ठी कवि व्यथितको सहयोगमा उनको घरमा आयोजना गर्‍यौं ।
त्यसमा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह कवि व्यथितका अतिथि थिए । भुवन ढुङ्गानाको एक मात्र कविता वाचन गरेर त्यो साँझलाई भेटघाटमा प्रयोग गर्ने योजना बनायौं । कवि व्यथितले पुरानो मुक्तियुद्धका बेलाको भारतमा हुँदाको गणेशमानको एउटा भावपूर्ण सम्झना सुनाए । त्यसले गणेशमान सिंहलाई अत्यन्त भावुक बनायो, अनि ती आफ्ना साथीहरूले प्रजातन्त्र बचाउलान् र ? भनेर प्रश्न गर्दै जीवनको त्यो अन्तिम कालमा फुटेर रोए । त्यो साँझ नेपाली पुस्तान्तरणको एउटा राजनीतिक र साहित्यिक चेतनाको अनौठो संयोग भएको थियो । गणेशमान सिंहका साथी बीपी कोइरालाले पनि पुस्तान्तरणको बहसलाई चिन्ताको विषय बनाएका उदाहरण छन् ।
अन्तमा केही निष्कर्ष निकाल्छौं । नेपालमा पुस्तान्तरण अहिले एउटा बलियो चेतना भएर आएको पक्का हो, जुन अहिलेको राजनीतिक संरचनामा देखिन्छ । तर, माथि भनेझैं यसले उल्झनहरू बनाइरहेको छ । एकेडेमिया, मिडिया र अरू बहसमा पुस्तान्तरण एउटा प्राज्ञिक अध्ययन र बलियो सामाजिक आन्दोलनकै रूपमा आएको छैन । आशा गरौं आउला । अमुक व्यक्ति नयाँ पुस्ताको हो, यसले पो काम गर्न सक्थ्यो वा सक्नेछ, तर पुरानो पुस्ताका नेताले दिएनन् जस्ता एक आयामिक बहसमा ती सीमित भएका छन् । यो भयो राजनीतिको कुरा । आफू एकेडिमिक व्यक्ति भएकाले आफ्नो लामो विद्यार्थीसँगको सहकर्म र अनुभवले भन्छौं– विद्यार्थीको बीचमा पनि पुस्तान्तरणको बहस अल्मलिएको छ । राजनीतिक दलहरूको प्रभावमा काम गर्नुपरेका उनीहरूले आफ्नो काम गर्ने मोडालिटी बनाएका हुनाले विद्यार्थीले उठाउने, उनीहरूको युग चेतनालाई सुहाउने पुस्तान्तरणको बहस उठाउन सकेका छैनन् । त्यो अलिक चिन्ताको विषय छ ।
त्यसो हो भने नेपालमा पुस्तान्तरको बहस नै हुँदैन त ? यसको उत्तर यस्तो निकाल्न सकिन्छ– अवश्य हुन्छ, तर त्यो अहिले अलमलिएको छ । अथवा त्यो बहस व्यक्तिका योग्यता, मिडियामा व्याप्त युवाहरूका प्रकाशन, बहस र नयाँ चेतनामा छ । तर, त्यसलाई पुस्तान्तरणको बहस र यसको प्रयोग देखिनेगरी, आम रूपमै आवश्यक माध्यमबाट अगाडि ल्याउनु आवश्यक छ । यो बहस एउटा शक्तिको रूपमा आयो भने यसले राजनीतिदेखि समाज, शिक्षा र चेतनाका आयामहरूमाथि सकारात्मक प्रभाव पार्न सक्नेछ ।