You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

साउदीमा २२ वर्ष जेलपछि मृत्युदण्ड

- होम कार्की

(काठमाडौं)
थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’

गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन, आफ्नो कुन दिन अन्तिम हुनेछ । तर, नियतिले भइदियो यस्तै । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुरले यही गीतका शब्द टिपेर फेसबुक स्टाटस लेखेका थिए । गत बिहीबार साँझ साउदी अरेबियाको सरकारी सञ्चारमाध्यम साउदी प्रेस एजेन्सीले सन्तबहादुरलाई मृत्युदण्ड दिइएको अप्रिय खबर सुनायो ।
नेपाल र साउदी सरकारका तर्फबाट उनलाई जीवनदान दिलाउन पीडित परिवारसमक्ष गरिएका सबै प्रयास खेर गए । पीडित परिवारले ‘खुनको बदला खुन नै हुनुपर्ने’ अडानबाट पछाडि नहटेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ । स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी करार गर्दै मृत्युदण्डको फैसला २०५८ जेठमै सुनाएको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन गरेको आन्तरिक मन्त्रालयले उल्लेख गरेको छ ।
‘सरिया कानुनबमोजिम सन्तबहादुर पुनलाई बिहीबार मृत्युदण्डको सजायलाई कार्यान्वयन गरेको सुनिश्चित गर्दछ । अपराध गर्ने जोकोहीले पनि साउदी सरकारले बनाएको सुरक्षा, न्यायको प्राप्ति र अल्लाह भगवानले बनाएको नियमको भागिदार बन्नुपर्छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । २०५४ सालमा साउदी अरेबियाको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको कामका लागि पुगेका थिए, सन्तबहादुर । जुन गाउँ राजधानी रियादबाट १२ सय किलोमिटर टाढा पर्छ । साउदी गएको चार वर्षपछि एक दिन साहुका दुई सय भेडा चराउन मजराकै एक मरुभूमितर्फ लागे । जहाँ साउदी नागरिक अल सरारी भेडा माग्न बारम्बार गोठमा आउन थाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन्, दोस्रो दिन जबर्जस्ती लैजान खोजेपछि बिरामी भेडा दिएर पन्छाए । यद्यपि उक्त व्यक्तिको भेडा माग्ने क्रम रोकिएन ।
सन्तबहादुरले सम्झाउन खोजे, तर उल्टै हप्कीदप्की गरेर जाइलाग्यो । ‘ऊ मलाई मार्न अगाडि सरेजस्तो गर्‍यो । साथमा भएको चक्कु आवेशमा चलाएँ, उसको पेटमा रोपियो,’ सन्तबहादुरले घटना सम्झिँदै कान्तिपुरसँग फोनमा भने,
‘ऊ ठाउँको ठाउँ ठहरै भयो । मलाई पनि फाँसी हुन्छ भनेर लगत्तै आफूलाई पनि चक्कु हानें । प्रहरीले मलाई घाइते अवस्थामा अस्पताल पुर्‍यायो ।’ सन्तबहादुरले आफू दोषी
रहेको कबुल गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म कसैसँग बोल्न र भेट्न नदिई नजरबन्दमा राखियो । ‘एउटा भेडाका लागि मैले ज्यान लिएँ  । सायद त्यो मेरो मूर्ख इमानदारी रहेछ । भेडा दिएको भए के जान्थ्यो र ? सन्तबहादुरले कुनै बेला घटनाको प्रायश्चित गर्दै सुनाएका थिए, ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं ।’
मृतक सरारीका तीन छोरा छन् । घटनाताका कान्छा छोरा ५ वर्षका थिए । नाबालक ती छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयन विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भएपछि सन्तबहादुर त्यतिन्जेल कुरैयात जेलमै बस्नुपर्ने भयो । मृतकका माइलो छोरा जो फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) पनि हुन्, उनले सन्तबहादुरलाई जेलमै भेटेर माफी दिने वचन दिएपछि उनमा जीवनदान पाउने आशा पलाएको थियो ।जेठो छोरा पनि माफी दिन सहमत नै थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू भने खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए ।

जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए पनि पीडितले मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत पनि माफीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनै जना सन्तबहादुरलाई माफी दिलाउन प्रयासरत थिए । तर, मृत्युदण्ड दिने वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्र पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएन ।साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । तर कमिटीसँगको छलफलमा पनि पीडित पक्ष सन्तबहादुरलाई माफी दिन सहमत भएनन् ।
पीडित परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए जीवनदान दिन मिल्दैन । नेपाली दूतावासले सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी थिइन् । उक्त अनुरोधले पनि काम गरेन । ‘२२ वर्षभन्दा बढी जेल बसिसकेको छ । अब यसलाई मानवीय हिसाबले पनि हेरिदिनुपर्छ भनेर हामीले कुनै कसर बाँकी राखेनौं । त्यसमा साउदीका अधिकारीहरू पनि सकारात्मक नै थिए । तर अहिले उनलाई फाँसी दिइएको खबर सुन्दा नमिठो लागेको छ,’ साउदीका लागि पूर्वराजदूत महेन्द्रसिंह राजपुतले बताए ।
पीडित परिवारले माफी नदिएसम्म अन्य कुनै उपायबाट बच्न सम्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहलकदमी नलिन भनेका थिए । सन्तबहादुर साउदी जाँदा उनका तीन छोरा शिव, खड्ग र मीनबहादुर सानै थिए । सन्तबहादुरले श्रीमती मायालाई फोनमा सम्झाउँथे, ‘मेरो भाग्यमा फाँसी नै लेखेको रहेछ भने कसैले रोकेर रोकिन्न । नेपालमै गएर मर्नॅ लेखेको रहेछ भने कुनै न कुनै दिन फर्किहाल्छु ।’
सायद उनको भाग्यमा जीवनदान लेखिएको रहेनछ । श्रीमान् फर्किआउलान् भन्ने मायाको आशाको तान्द्रो पनि बिहीबारदेखि सधैंका लागि चुँडियो । सन्तबहादुरले भने लगभग बाँच्ने आशा पहिल्यै मारिसकेका थिए । त्यसैले उनी जेलबाटै मायालाई बारम्बार सम्झाउँथे–
‘मलाई कहिले के पर्छ भनेर चिन्ता नगर्नँ । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुनु, दुःख मान्नु ।’

मुख्य पृष्ठ

चौंरी बेचेर आङ्टावालाई ६ लाख बुझाएका थिए दोर्जीले

- कान्तिपुर संवाददाता

(काठमाडौं)
भुटानी शरणार्थी बनेर अमेरिका पुगिछाड्ने सपना देख्नुअघि दोर्जी शेर्पा जिरीमाथिको लेकमा चौंरीपालन गर्थे । लेकाली रनवनमा रमाइरहेका उनले एकाएक ‘केही पैसा बुझाए सजिलै अमेरिका पुगिने’ हल्ला सुने । त्यही हल्लाकै भरमा सुरुमा उनले १९ वटा चौंरी बेचे ।
‘गोठमा अलिक बूढो उमेरका उरान जातका चौंरी थिए । १९ वटा बेचेर पैसा भेला गरिहालें, गोटाको ४५ हजार रुपैयाँका दरले,’ दोर्जीले
सुनाए, ‘त्यसपछि गएको वर्ष जेठमा नातामा आफन्त पर्ने र शरणार्थी बनाएर अमेरिका पठाइदिने रामेछापका एजेन्ट आङ्टावा शेर्पालाई भेट्न काठमाडौं आएको थिएँ ।’
दोर्जी र उनका ८ आफन्तसँग आङ्टावाले चाबहिलको केएल टावरनजिकै आफ्ना छोराको कफी सपमा भेटेका थिए । उनी भन्थे, ‘यो गृह मन्त्रालयले ल्याएको अवसर हो, तुरुन्तै अमेरिका जाने अवसर हो । टोटल प्याकेजमा ४० लाख रुपैयाँ लाग्छ, अहिले ६ लाख रुपैयाँ दिइहाल्नू ।’ लगत्तै आङ्टावाले ‘भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ’ उल्लिखित फाराम झिकेर भर्न लगाइहाले । ‘लु मौका आएछ भनेर हामीले शरणार्थी फाराम भरिहाल्यौं, खुरुखुरु चेक पनि काटिदियौं,’ उनले भने, ‘त्यसपछि दोर्जीबाट म
मिङ्मा शेर्पा बनें ।’ फाराममा उनको ठेगाना भुटानको चिराङ राखिएको छ ।
एकातर्फ गृह मन्त्रालयले बनाएको एक प्रतिवेदनमा ८७५ नक्कली शरणार्थीको अनुसूची दफा थपेर झापा, मोरङ, कास्की, सल्यान, म्याग्दी, दाङ, रुकुमसम्म पैसा उठाउने काम भइरहेका बेला यता आङ्टावाले भने त्योभन्दा दरिलो अर्को सूत्र पहिल्याएका थिए । त्यो थियो– झापा र मोरङका शरणार्थी शिविरमा रहेका छुट दर्ताका आधिकारिक ४२९ व्यक्तिभित्रै दोर्जी र उनका साथीहरूलाई समेट्ने । ‘तिमारु ८७५ होइन, ४२९ भित्र पर्नेछौ,’ आङ्टावाले भनेका थिए, ‘अबको चान्समा अमेरिका उड्ने भनेकै तिमारु हौ ।’

उनकै योजनामा दोर्जी र उनका साथीहरूलाई ललितपुरको हिमालय होटलमा लगेर फोटो खिचियो । ‘अब शरणार्थी परिचयपत्र आउँछ, त्यो लिने भए २४ लाख रुपैयाँ बुझाउनु । अनि ट्राभल डकुमेन्ट र मेडिकलका लागि १० लाख रुपैयाँ तिर्नुपर्छ । त्यसपछि सिधै अमेरिका,’ फेरि आङ्टावाले आश्वस्त पार्न पैसाकै माग राखे ।
यति काम सकेर दोर्जी गाउँ फर्किए । तर, उनको मनमा प्रश्न बाँकी नै थियो– लेकमा चौंरी बेचेर, दुःखजिलो गरेर ६ लाख रुपैयाँ बल्ल बुझाइएको छ, अरू रकम कसरी जोहो गर्ने ? केही समयमै गएको जेठ ३१ मा ‘भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोडौं असुली’ शीर्षकमा समाचार आएपछि उनीसहित दोलखा–रामेछापबाट आङ्टावालाई रकम बुझाउने सयभन्दा बढी सर्वसाधारण हच्किएका थिए । ‘त्यसपछि हामीले यो काम सही रहनेछ, सरकारी तहको होइन रहेछ भन्ने थाहा पायौं,’ दोर्जी भन्छन्, ‘अनि आङ्टावालाई पैसा फिर्ता गर्न दबाब दिन थाल्यौं ।’ आङ्टावाका सहयोगी बनेर आएका मोरङका मिलन गौतमले भने पैसा फिर्ता लिन आएका सर्वसाधारणलाई कहींकतै नबहकिन र पत्रिकामा आएको समाचारको भर नपर्न सम्झाइरहेका थिए ।
फोन सम्पर्क वा भेटघाटमा आङ्टावाका टालटुले कुरा आएपछि दोर्जीसहितले ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभाग, उपत्यका अपराध अनुसन्धान कार्यालयतिर पनि हारगुहार मागिरहे । सुनुवाइ कतैबाट भएन । ‘आङ्टावा हामी सबै शेर्पा समुदायका नातेदार थिए, त्यसकारण पनि उनलाई अप्ठ्यारो लागेको हुनुपर्छ,’ दोलखा जिरीकै अर्का दाफुरी शेर्पाले सुनाए, ‘यही कारण उनी अस्ति जेठ १ मा प्रहरीसामु उपस्थित भएका रहेछन् । आफूलाई निर्दोष देखाउन चाहेका रहेछन् ।’
अहिले प्रहरी हिरासतमा रहेका कांग्रेसका पूर्वसांसद आङ्टावाले जिल्ला अदालतसामु दिएको बयानमा शरणार्थी गिरोहमा आएका नाममध्ये ‘केशव दुलाल, सानु भण्डारी, बालकृष्ण खाणलाई राम्ररी चिनेको’ बताएका छन् । दुलाल कांग्रेस नेतृ सुजाता कोइरालाको निजी सचिव, भण्डारी जग्गा र हाइड्रो पावरसम्बद्ध तथा खाण कांग्रेस नेता भएर चिनेको उनले सतही बयान दिएका छन् ।
‘दोलखा र रामेछापमा एक सयभन्दा बढी आङ्टावाबाट पीडित होलान्, तर अरू कोही आउनेवाला छैनन्,’ २६ वर्षीय दाफुरीले भने, ‘किनभने जति शेर्पा छन्, कि मावली, कि ससुराली वा घरतिरका छन् । त्यसमाथि कांग्रेसका नेता आङ्टावाका विरोधमा को बोल्ने ?’ आफूसहितको समूहले टेकु प्रहरी परिसरमा उजुरी दिन चाहे पनि दर्ता नगरिएको र थन्क्याएर राखिएको दाफुरीको भनाइ छ । ‘यस्ता फटाहा र तस्करका बारे कारबाही हुनुपर्‍यो भनेर हामी वैदेशिक रोजगारमा गयौं, सुनुवाइ भएन । प्रहरी परिसरमा पुग्यौं, निवेदन दर्तै भएन,’ उनी भन्छन्, ‘कतैकहीं केही सीप नलागेपछि पत्रिकासामु आएका हौं, हाम्रो सुनुवाइ हुनुपर्‍यो ।’
आङ्टावाले दोलखा–रामेछापका शेर्पा समुदायबाट करोडौं रुपैयाँ उठाए पनि यतिबेला उनीहरू ‘आफन्तका विरुद्ध’ बोल्न चाहिरहेका छैनन् । यो प्रकरणमा गत जेठ १० गते आङ्टावासहित ३० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । आइतबारदेखि अभियुक्तमाथि थुनछेक बहस सुरु हुँदै छ ।

 

Page 2
म्यागेजिन

राजनीतिमा अध्यात्म

- कान्तिपुर संवाददाता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसहित परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गर्दै । भ्रमणको तेस्रो दिन दाहालसहित ३२ जनाको टोलीलाई शुक्रबार बिहान मध्यप्रदेशको इन्दौरमा मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । त्यसपछि उज्जैनस्थित मन्दिर पुगेका दाहालसहित मन्त्रीहरूले गेरु वस्त्र धारण गरेर मन्दिरमा दर्शन र पूजा गरेका थिए । महाकालेश्वर मन्दिर भारतमा प्रसिद्ध शिवका १२ ज्योतिर्लिङ्गमध्येको एक हो ।

म्यागेजिन

भारत भ्रमणमा परम्परागत समर्थन र विरोध

- जगदीश्वर पाण्डे

(काठमाडौं)
भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीले विगतमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा विवाद, ईपीजी लगायतका राजनीतिक मुद्दा उठाउँदै आएकामा योपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले विकास र सहकार्यलाई प्राथमिकता राखेको देखिएको छ । परराष्ट्र मामिलाका जानकारहरूले दाहालको यो भ्रमणले ‘प्याटर्न चेञ्ज’ गरेको बताएका छन् । यसअघि प्रधानमन्त्रीको भ्रमण राजनीतिक मुद्दाहरूमा बढी केन्द्रित रहने गरेकामा यस पटकको राजनीतिक मुद्दालाई छुँदै नछोइएको टिप्पणी उनीहरूको छ ।
‘विगतका भ्रमण आमजनताको विषयभन्दा पनि राजनीतिक विषयमा केन्द्रित हुन्थे, अबचाहिँ सम्बन्धमा प्याटर्न परिवर्तन भयो, आर्थिक र विकास सहकार्यका मुद्दालाई बढी प्राथमिकता दिइएको छ,’ परराष्ट्र मामिला जानकार चन्द्रदेव भट्टले भने, ‘यसको प्रत्यक्ष प्रभाव आमजनतामा पर्छ । उनीहरूको लाइफ स्टाइल परिवर्तन हुन्छ । आर्थिक क्रियाकलाप बढ्छन् ।’
यसले जनताको बीचमा सम्बन्ध विस्तार र सहकार्य बढ्दै जाने पनि उनले बताए । ‘राजनीतिक विषयले आमजनताको जीवनमा खासै सरोकार राख्दैनथ्यो तर त्यसले राजनीतिक तप्का र पार्टीहरूलाई चाहिँ फाइदा गर्थ्यो, ती मुद्दालाई राजनीतिक दलले सधैं सत्तामा जाने बाटो, व्यवस्था परिवर्तन र सरकार परिवर्तनका लागि प्रयोग मात्र गरिरहेका थिए,’ भट्टले भने, ‘उनीहरूले समस्या समाधान नगर्ने र त्यसलाई राजनीतिक अस्त्रको रूपमा मात्र प्रयोग गर्ने गरिरहेका थिए ।’
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा राजनीतिक मुद्दाहरूलाई छुँदै नछोएको बताए । ‘ईपीजीको प्रतिवेदनले विवाद आउँछ भनेर त्यसको प्रसंग नै उठाइन भनेर प्रधानमन्त्री स्वयंले भन्नुभयो, ईपीजी कसरी विवादमा आउने विषय भयो ?’ उनले प्रश्न गरे ।
सीमा विवादका विषयमा सघन हिसाबले छलफल गरेर आजको युगअनुसार दुईवटा स्वतन्त्र राष्ट्रका रूपमा अगाडि बढाएर जानुपर्छ भन्ने निष्कर्ष निकालिएको ईपीजी प्रतिवेदनलाई प्रधानमन्त्रीले नै विवादित भन्नु गम्भीर त्रुटि भएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा शुक्रबार बिहान सञ्चारकर्मीसँग भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेका छन् । भारतको चारदिने औपचारिक भ्रमणका लागि बुधबार नयाँदिल्ली गएका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार द्विपक्षीय भेटवार्ता भएको थियो । लगत्तै उनीहरूकै नेतृत्वमा रहेको दुई मुलुकबीचको प्रतिनिधिमण्डलबीच वार्ता भयो । त्यसपछि ७ वटा विषयमा सम्झौता तथा समझदारी भए । साथै, ६ वटा परियोजना भर्चुअल रूपमा हैदराबाद हाउसबाटै स्विच थिचेर दुवै प्रधानमन्त्रीले उद्घाटन र शिलान्यास गरेका थिए ।
दाहालको भ्रमण दुई मुलुकबीच लामो समयदेखि जेलिएका राजनीतिक मुद्दाभन्दा पनि आर्थिक, पूर्वाधार र ऊर्जा विकास सहकार्यमा केन्द्रित रह्यो । नेपालले माग गरेको २५ वर्षको ऊर्जा सम्झौता, महेन्द्रनगरबाट ३० हजारभन्दा बढी उचाइमा हवाई रुट र बंगलादेशमा विद्युत् लाने विषयमा सम्झौता वा हस्ताक्षर भएन । तर, मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने मौखिक घोषणा गरेका छन् । उनले सीमासहित अन्य विषय समाधान गर्न चाहेको बिहीबारको संयुक्त पत्रकार सम्मेलनमा बताए ।
प्रधानमन्त्री दाहालले पनि सीमा समस्या समाधानका लागि बंगलादेशको उदाहरण दिँदै विभिन्न विकल्प आइरहेको र त्यसलाई आधार मानेर सीमा समस्या समाधानमा ‘ब्रेक थ्रु’ गरेको दाबी गरेका छन् । ‘मेरै मुखबाट अहिले धेरै भन्नु राम्रो हुन्न जस्तो लाग्छ तर जे परिणाम आयो, त्यो सुखद छ, धेरै राम्रो कुराको सुरुवात भएको छ,’ उनले भने, ‘तर अहिले नै सबैथोक भइहाल्यो भन्ने होइन ।’
एमाले विदेश विभाग प्रमुख भट्टराईले प्रधानमन्त्री दाहालले दाबी गरेको जस्तो भ्रमण सफल नभएको बताए । ‘प्रधानमन्त्रीले जे अपेक्षा जगाएर जानुभएको थियो, त्यो भएन,’ उनले भने, ‘विगतको सबै कुराभन्दा पृथक हिसाबबाट सहमति गरेर आउँछु, नेपालका लागि यो कोसेढुंगा हुन्छ भन्नुभएको थियो तर दुई मुलुकबीच भएका सम्झौता र विषयवस्तु अवलोकन गर्दा त्यो देखिन ।’ नेपालले उल्लेख्य उपलब्धि नपाएको उनले बताए ।
भट्टराईले भारतका तर्फबाट नेपाल मामिलामा विगतमा भएकै कुराको निरन्तरतामा बढी जोड दिइएको उल्लेख गरे । ‘भारतले लिन खोजेका कुरा भने लियो,’ उनले भने, ‘हामीले वैकल्पिक विमानस्थल (भैरहवा) बनायौं, त्यसको सञ्चालनका लागि एयर रुट धेरै समयदेखि माग गरिरहेको हो । अन्तर्राष्ट्रिय रूपमा कानुनले दिनुपर्छ भनेको कुरामा भारतले आनाकानी गरिरहेको छ तर त्यसलाई ब्रेक थ्रु गर्न सकिएन ।’ कोभिडपछि
थलिएको पर्यटन क्षेत्रलाई उकास्न भैरहवा विमानस्थलले धेरै मद्दत गर्ने उनले बताए ।
परराष्ट्र मामिला जानकार भट्टका अनुसार सन् १९५० को सन्धिका विषयमा राजनीतिक दल र तप्कामै प्रस्टता छैन तर पटक–पटक इरिट्यान्टका रूपमा त्यो कुरा उठाउने गरिएको थियो । ‘त्यो एउटा कारणले ७० वर्षसम्म हाम्रो सम्बन्ध कहीं पनि अघि बढेन,’ उनले भने । दोस्रो महत्वपूर्ण पक्षको रूपमा ईपीजी रहेको उनले दाबी गरे । उनले भने, ‘ईपीजी लेख्ने व्यक्तिहरूले त्यसलाई एउटा व्यक्तिगत इगोका रूपमा लिए, दुई देशका बीचमा त्यस्तो धेरै किसिमका अध्ययन हुन्छन्, त्यसलाई कसरी लिने र कसरी अघि बढ्ने भन्ने निर्णय दुई देशले गर्ने हो,’ उनले भने, ‘तर त्यसलाई हामीले ठूलो इस्यु बनाइदियौं ।’
उनले अहिले दाहालको भारत भ्रमणमा जुन हिसाबमा मुद्दाहरूको प्राथमिकीकरण गर्न खोजिएको छ, त्यो ठीक रहेको बताए । ‘योचाहिँ बटम अप एप्रोज हो, हामीचाहिँ अहिलेसम्म अप टु बटम एप्रोज गर्दै आएका छौं, जुन गलत हो । र, हामी जहिले पनि दुई मुलुकको कुरा गर्दा राष्ट्रिय चासोको कुरा गर्छौं । अब राष्ट्रिय चासोभन्दा पनि द्विपक्षीय चासोको कुरा गरे अघि बढ्न सहज हुन्छ । दुवै देशले आ–आफ्नो मात्र स्वार्थ हेर्‍यो भने त कुनै पनि सम्झौता र सहकार्य हँॅदैन/सक्दैन,’ उनले थपे ।
माओवादी सचिव राम कार्कीले अहिलेको परिस्थितिअनुसार भ्रमण सन्तोषजनक रहेको प्रस्ट पारे । उनले कूटनीतिक विश्वसनीयता ठूलो कुरा गरेको उल्लेख गर्दै अर्को मुलुकले जे भन्यो, त्यो मात्र गर्ने नभई आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सक्नुपर्ने बताए । उनले भने, ‘भ्रमण सन्तोषजनक छ । नेपालको स्थिति हेर्नुपर्छ । नेपाल कुनै सवालमा एकढिक्का भएको स्थिति भए अर्कै हुन्थ्यो तर अहिले अस्थिरता र अराजकता छ । यस्तो बेला भएको भ्रमण खत्तमै भयो भन्ने छैन । यो भ्रमणबाट धेरै अपेक्षा गरिएको थियो,’ उनले भने, ‘तर कमसेकम दुवैतर्फबाट दबाबमा परेर अडानै राखेको देखियो ।’
अर्का परराष्ट्र मामिला जानकार अरुण सुवेदीले जस्तो किसिमले नेपालले नयाँदिल्लीमा नेतृत्व गरेको छ, त्यो धेरै फितलो भएको टिप्पणी गरे । उनले भारतसँग राख्नुपर्ने केही मुद्दाहरूमा नेपाल प्रवेश नगरेको बताए । ‘त्यसका बाबजुद पनि यो भ्रमणको उपलब्धि भनेको चाहिँ पारवहन सन्धि पुनरावलोकन गर्दा उनीहरूको राष्ट्रिय जलमार्गका तीनवटै बिन्दुहरू साहिदगन्ज, कालुघाट र वाणानासीलाई प्रयोग गर्न पाउँदा पारवाहनमा ठूलो ब्रेक थ्रु भएको हो,’ उनले भने, ‘यसले नेपाललाई कोलकाताको झमेलाबाट केही हदसम्म मुक्त गर्छ । यही नै अहिलेको ठूलो उपलब्धी हो ।

 

Page 3
अन्तर्वार्ता

'अब प्रचण्डले सधैंभरि गेरुवस्त्र लगाएर हिँडोस् भनेका छन्, तर निश्चिन्त काममा छु’

- कान्तिपुर संवाददाता

 

तेस्रो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल छिमेकी भारतको चौथो भ्रमणमा छन् । लामो रस्साकसीबीच उनले दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा देशलाई सफलता दिलाएका छन् । तर, देशले प्रतीक्षा गरेका हवाई रुट थप र पञ्चेश्वर परियोजनाबारे उनले अपेक्षित उपलब्धि हात पार्न भने सकेनन् । पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइन विस्तार र अन्तरदेशीय डिजिटल भुक्तानीलगायत विषयमा दुई देशबीच सम्झौता भएका छन् । दिल्लीको राजनीतिक भ्रमण सकेर मन्दिर दर्शन र फोहोर व्यवस्थापनको प्रगति हेर्न इन्दौर पुगेका प्रधानमन्त्री दाहालसाग शुक्रबार सााझ कान्तिपुरका उमेश चौहानले विस्तृत अन्तर्वार्ता गरेका छन् :

प्रधानमन्त्रीज्यू, तपाईं नयाँदिल्लीमा दुई दिनसम्म रहँदा आर्थिक र राजनीतिक संवादमा सहभागी हुनुभयो, तर तेस्रो दिन यहाँ (इन्दौर) आएर उज्जैनको महाकालेश्वर मन्दिरमा भव्य पूजाआजामा सहभागी हुनुभयो । यो सब हेरिरहेको देशले के सोधिरहेको छ भने हाम्रा प्रधानमन्त्रीको भ्रमणको मूल एजेन्डा राजनीतिक वा आर्थिक कूटनीति हो कि धार्मिक ?
पहिलो कुरा त प्रधानमन्त्रीको हैसियतमा यो मेरो चौथो भारत भ्रमण हो । अघिल्ला तीन भ्रमणको अनुभव पनि मसँग छ । यो भ्रमण मूलतः देशको आर्थिक स्थितिलाई गति दिने उद्देश्यका साथ भएको हो । नेपाल–भारत सम्बन्धका कुन कुन पक्षलाई जोड्दा आर्थिक रूपमा सकारात्मक वातावरण बनाउन सकिन्छ भन्ने मुख्य ध्येय हो । तर प्रधानमन्त्रीका भ्रमण राजनीतिभन्दा अलग त हुनै सक्दैन । त्यसैले राजनीतिक भ्रमण पनि हो । धार्मिक, सांस्कृतिक पनि हो । त्यसैले भ्रमणलाई तीन वटै सम्मिश्रणका रूपमा बुझ्न सकिन्छ । यद्यपि मूलरूपमा आर्थिक र राजनीतिक भ्रमण नै हो ।

तर, तपार्इं जुन राजनीतिक विचारधाराबाट आउनुभएको छ, त्यसभन्दा फरक देखिने गरी आज गेरुवस्त्र लगाएर मन्दिर जानुभयो, १०८ किलोको रुद्राक्ष चढाएर पूजा गर्नुभयो । योचाहिँ खासमा महाकालेश्वर देउतालाई खुसी पार्न हो कि, अरू कसैलाई ? समाजले त आज यही प्रश्न गरिरहेको छ ।
नेपालमा हरेक चिजलाई नकारात्मक ढंगले हेर्ने प्रवृत्ति बढेको छ । यो प्रवृत्ति सबैका निम्ति चिन्ताको विषय हो । राजनीतिक र आर्थिक उद्देश्य लिएर म दिल्ली आएँ । अफिसियल भ्रमण सकाएर इन्दौर आएको हुँ । तर, नेपालमा हामीले फोहोर व्यवस्थापनमा समस्या सामना गरिरहेका छौं, तर यहाँ (इन्दौर) मा उदाहरणीय रूपमा काम भएको छ भन्ने सुनिएको हो । इन्दौर आउने भएपछि नजिकैको उज्जैन ऐतिहासिक सहर हो, जुन धार्मिक र पर्यटकीय रूपले पनि धेरै समृद्ध छ । यहाँको महाकालेश्वर मन्दिरमा एकै दिन एक, डेढ लाख मान्छे आउने रहेछन्, त्यस्तो ठाउँ एक पटक हेर्न मन जसलाई पनि हुन्छ । यसलाई अरू धेरै अर्थ लगाउनुपर्ने आवश्यक छैन । म त भन्छु, अरू नेपाली पनि मध्यप्रदेश वा इन्दौर आएको बेला महाकालेश्वर गएर हेर्दा हुन्छ । धार्मिक र सांस्कृतिक दृष्टिकोणले पनि यसको महत्त्व छ । किनकि भारत र मध्यप्रदेशले त्यो क्षेत्रलाई त्यसरी नै निर्माण र संरक्षण गरेको छ । तर, तपाईंले गेरुवस्त्रको कुरा ल्याउनुभयो, म जनताको धार्मिक आस्थालाई सम्मान गर्छु । हिन्दु, बुद्धिस्ट, मुस्लिम, क्रिश्चियन सबै धर्म संस्कृतिमा आस्था राख्ने जनताको भावनालाई म सम्मान गर्छु । झन् हिन्दुको नगर्ने भन्ने त कुरै भएन । यहाँ आएको बेला त्यहाँ जानु स्वाभाविक नै थियो । त्यो मन्दिर पुग्ने विशिष्ट पाहुनाले गेरुवस्त्र लगाउनुपर्ने (प्रोटोकल) नै रहेछ । मैले लगाउँदिनँ भनेर जनताको भावनामा ठेस पुर्‍याउन हुँदैनथ्यो । मैले त यो सबलाई सहज रूपमा लिएँ, त्यसैले सहज रूपमा गएँ ।

तर, तपाईंले १०८ किलो रुद्राक्ष पनि चढाउनुभयो, सुटकेसभरि रुद्राक्ष ल्याएर चढाउने त आस्था नै होला नि, प्रोटोकल मात्र होइन होला ?
त्यो रुद्राक्ष परराष्ट्रमन्त्री एनपी साउदले ल्याउनुभएको हो । आफ्नो क्याबिनेटको मन्त्रीले ल्याइसकेपछि मैले छुन्न भन्नुभएन । त्यसैले त्यसमा सहभागी हुनु पनि स्वाभाविक नै हो । तर, यसलाई यति ठूलो विवाद बनाएर तर्क गर्न खोजिएको छ, त्यसको आवश्यकता छैन । म त अन्यत्र जाँदा पनि मन्दिर गएर दर्शन गर्ने गरेकै छु । जनताको भावनालाई सम्मान गर्ने गरेको छु । खासमा खुला र प्रतिस्पर्धाको राजनीतिमा आइसकेपछि यी सबै सामान्य र स्वाभाविक क्रिया मान्नुपर्छ । यसलाई अन्यत्र जोडेर हेर्नु आवश्यक छैन । तर मैले देखेको छु, कतिपय मान्छेहरूलाई त (अब यसले यस्तै गेरुवस्त्र नै लाइदिराखे हुन्थ्यो, यसैमा अडिराखे हुन्थ्यो भन्ने रहेछ) । म उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । तर, मेरोतर्फबाट यो आम जनताको भावनाको सम्मान मात्रै हो । अझ, हामीले त धार्मिक, सांस्कृतिक र पर्यटनसँग सम्बन्धित रामायण सर्किटको कुरा गरेका छौं । मैले बुद्धिस्ट सर्किटको कुरा गरेको छु । यस्तो कामलाई जनताको भावनाको सम्मान गर्दै धार्मिक पर्यटन विकास गर्ने र जनताको जीवनस्तरमा सुधार ल्याउने माध्यमका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

तर पनि मान्छेहरू जान्न उत्सुक छन्, खासमा महाकालेश्वर दर्शन (होस्ट) को रोजाइ हो कि (गेस्ट) को ?
यसमा पहिला मेरो उद्देश्य अझ स्पष्ट पार्नुपर्छ । म दुईवटा कारणले इन्दौर आएको हुँ । भारतको सबैभन्दा सफा सहरका रूपमा घोषित यो सहरमा फोहोर कसरी व्यवस्थापन भएको छ भन्ने मेरो चासो हो । काठमाडौं, भक्तपुर, ललितपुर वा देशैभरि फोहोर व्यवस्थापनमा हामी विभिन्न समस्यासँग जुध्नुपरेको छ । यहाँको अनुभव नेपालका लागि उपयोगी होला भनेर जान्ने मेरो इच्छा हो । त्यसैगरी यही आईटीमा पनि उदाहरणीय काम भएको छ, त्यो पनि हेर्ने मेरो रोजाइ हो । अब इन्दौर आएपछि उज्जैन जानु राम्रो हुन्छ भन्ने होस्ट (भारतको) पनि भनाइ हो, त्यो ऐतिहासिक र धार्मिक सहर भएकाले जान्छु भन्ने मेरो (गेस्ट) को पनि चाहना हो ।

देश र समाजका तर्फबाट आलोच्य अर्को विषय पनि छ । भारतका उच्च पदाधिकारीसँग भेटमा मन्त्रीहरू नहुने, सचिव नहुने, चिफ अफ प्रोटोकल नहुने, तर ती भेटमा प्रधानमन्त्रीकी छोरी सहभागी हुने । यो दृश्यले देशमा चर्को आलोचना भएको छ । कूटनीतिक भेटमा प्रधानमन्त्रीकी छोरी देखिने त । कूटनीतिक प्रशासनिक कर्मचारी नदेखिने किन भएको हो ? यस्तो कमजोरी किन भयो ?
तपाईंले भ्रमणको पहिलो दिनको भेटघाटलाई भन्नुभएको हो भने त्यो खासमा वान–अन–वान भेटघाट नै हो । त्यहाँ अरू अधिकारी कोही बस्ने भन्ने थिएन । सल्लाह र तयारी नै त्यस्तो थियो । प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग वान–अन–वान भेट्ने भन्ने नै थियो । त्यसमा भारतका विदेश सचिव आउने नआउने मलाई थाहा थिएन । डोभालसित वान–अन–वान भेट्ने कार्यक्रम भएकाले छोरी बसेकी हुन् । तर, त्यही विषयलाई ठूलो बनाइयो भने यो दुर्भाग्यपूर्ण हो भन्ने मलाई लाग्छ । किनभने प्रधानमन्त्री वा राष्ट्रपतिकी श्रीमती हुँदा यस्तो भ्रमणमा सँगै बस्ने, हिँड्ने हुन्छ । श्रीमती नहुँदा वा बिरामी हुँदा परिवारको अर्को सदस्यलाई त्यही (स्टाटस) दिने अन्तर्राष्ट्रिय प्रचलन रहेछ । त्यही प्रचलनअन्तर्गत यो भ्रमणमा छोरी मसँगै छ । ऊ पार्टीको नेता पनि हो, मेरो सचिवालयमा पनि छ, प्रधानमन्त्रीकी छोरी पनि हो, त्यसैले स्वाभाविक रूपले त्यो भेटमा बसेको हो । मैले छोरी राख्दिनुपर्‍यो भनेर कसैलाई भनेको पनि होइन । प्रधानमन्त्रीकी छोरी हुनुका नाताले उसको (स्टाटस) आफैं जोडियो । त्यही कारणले ऊ पनि कुराकानीमा बसेकी हो ।

तर, प्रश्न के हो भने विदेशी पदाधिकारीसँग बस्दा कूटनीतिक, रणनीतिक छलफल भयो होला, त्यसमा राज्यका अधिकारी नभएर परिवारका सदस्य बस्नुको कारण के होला ? यसले त प्रोटोकल र परम्परा मिचियो, होइन र ?
प्रधानमन्त्रीको सबभन्दा नजिकको मान्छेलाई स्वाभाविक रूपले राज्यको धेरै कुरा थाहा हुन्छ । त्यही रूपमा बस्ने कुरा हो । यो अन्तर्राष्ट्रिय प्रचलन हो भनेर मलाई भनिएको हो । देशले ध्यान दिनुपर्ने अनेक मुद्दामा यसपालि संवाद भएका छन्, सहमति भएका छन् । यो भ्रमणको एजेन्डा के हो, उपलब्धि के हो भन्नेमा देश र जनताले बहस गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

एजेन्डाकै कुरा गर्ने हो भने पनि यसपालि दुवैतर्फको गृहकार्य र दृष्टिकोणमा अन्योल देखियो । अझ, दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा ठूलो अन्योल भयो ?
पक्कै पनि दीर्घकालीन विद्युत् व्यापार सम्झौताबारेमा जुन गतिमा जसरी तयारी हुनुपर्थ्यो, हाम्रा पनि कतिपय सीमाहरू रहे । भारतका पनि केही (रिजर्भेसन) देखिए । त्यसले एक समयमा दबाब परेकै हो । जुन दिन हामी आयौं, त्यसको बेलुकाको स्थिति अलिक जटिल थियो । अझ मैले सञ्चारकर्मीहरूको समूहमा पनि भनें, होइन कुरा त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले सम्झनुभयो भने त्यही दिन नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा मेरो अनुहारमा ठूलो दबाब परेको जस्तो थियो । तर, मुख्य दिनको बिहानबाट वातावरण सकारात्मक बन्दै गयो र हैदरावाद हाउसमा त (रिजल्ट) नै आयो । यसमा मोदीजीले नै बढी अग्रसरता लिएको मेरो बुझाइ छ । अहिले जे भएको छ, त्यो नै सबै चिज हो भन्ने अवश्य होइन । तर, धेरै महत्त्वपूर्ण सुरुवात भएको छ । यद्यपि, सम्झौतापत्रमा हस्ताक्षर हुन मात्र बाँकी हो, भारतले यो सम्झौतामा हस्ताक्षर गर्ने प्रस्ताव अर्को साता क्याबिनेटबाट पास गर्ने भएकाले अहिले हस्ताक्षर नभएको पनि स्पष्ट पारिसकेको छ । तर त्यसमा भारतका प्रधानमन्त्री मोदीजीको स्पष्ट घोषणा आइसकेको छ । उहाँले यो सम्झौता सम्पन्न भइसक्यो भन्नुभएको छ । यो नेपालका लागि ऐतिहासिक उपलब्धि हो । १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने भनेपछि हाम्रो अगाडि निकै ठूलो अवसर र चुनौती आएको छ । नेपालमा जलविद्युत्मा ठूलो लगानी गर्न अन्तर्राष्ट्रिय ठूला कम्पनी आउन डराउने कारण के हो भने उत्पादित धेरै बिजुलीको बजार के हो ? बजार सुनिश्चित नभएकाले कम्पनीहरू डराउने कारण थियो । किनकि नेपालमा त्यो सबै उत्पादन खपत गर्न सक्ने स्थिति छैन, भारतले लिने हो कि होइन भनेपछि मानिसहरू लगानी गर्न डराएका हुन् । तर, यसपालिको भ्रमणपछि त्यो डर हरायो । अब नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म बिजुली भारत त जाने नै भयो । त्यो निश्चित भएकाले अब लगानी ठूलो स्केलमा गर्न उद्यमी व्यवसायी आउँछन् । अहिले विद्युत् व्यापारको ढोका खुल्यो । भारत, नेपालबीच पावर ट्रेडबारे सहमति हुनु र नेपालका लागि एउटा कोसेढुंगा हो । यो केही पनि होइन भन्न थालियो भने नेपालको विकासका लागि अर्को दुर्भाग्य हुन्छ । यो ठूलो सम्झौता भएको छ । यसलाई अझ विकसित गर्दै लैजानुपर्छ ।

नेपालमा ठूलो लगानी आउँछ भन्नुभयो, सम्भावित बलियो लगानीकर्ता उत्तरको छिमेकी हो । तर, नेपाली लगानीमा निर्माण भएका जलविद्युत् आयोजनामा कन्सल्टेन्ट र ठेकेदार मात्र चिनियाँ भएको भन्दै भारतले त्यस्ता आयोजनाको बिजुली लिन मानेको छैन । लगानी नै ल्याएर भारततर्फ विद्यत् निर्यात गर्न कति सहज होला ?
उत्तर छिमेकीसँग पनि सन्तुलन मिलाइनेछ । हिजो तपाईंले हेर्नुभयो भने मोदीजीसँग संयुक्त पत्रकार सम्मेलन गर्दैगर्दा मैले तामाकोशी कुरा पनि गरें । यो विद्युत् भारतले लिनुपर्छ भन्ने कुरा गरें । यो सन्तुलनको दृष्टिकोणले पनि हो । मैले प्रधानमन्त्री मोदीजीसँग वान अन वानमा पनि जोड गरेको कुरा के हो भने ग्लोबल टेन्डरबाट कसैले ठेक्का प्राप्त गर्‍यो भने त्यसमा कोमाथि प्रश्न गर्ने ? नेपालको जलस्रोत, प्रतिस्पर्धा गराएर जिम्मा दिनुपर्‍यो । तर, त्यसरी छानिएको कम्पनीले काम गरेको आयोजनाको बिजुली लिन्न भन्न त बिलकुल मिलेन । तर, विद्युत् आयोजनामा लगानी नै कसैले गरेकामा त उहाँहरूको आफ्नै (रिजर्भेसन) छ, त्यो सिधै नै बुझिएको छ । तर, नेपालको स्रोत, नेपालको लगानीबाट आयोजना बनाउँदा कुनै काम गर्न टेन्डरबाट कोही आउँछ भने नेपालले निषेध कसरी गर्न मिल्छ ? त्यसैका आधारमा निश्चित परियोजनाको बिजुली लिन्न भन्न मिल्दैन । ग्लोबल टेन्डरबाट निर्माण भएका आयोजनाको बिजुली भारतले लिनुपर्छ भन्ने हाम्रो अनुरोध पनि हो । यसको अर्थ चीनले आयोजनामा लगानी गर्दैन भन्ने होइन । चीनले ग्लोबल टेन्डरमा भाग नलिने भन्ने पनि होइन । तर, नेपालमा उत्पादित सबै बिजुली निर्यात गर्ने पनि त होइन । हामीले पनि खपत बढाउने हो ।

हामी बिजुली बेच्न जति उत्साहित छौं, बंगलादेश इच्छुक छ, बीचमा भारतले सहजीकरण गर्ने विषय प्रगतिउन्मुख छ । तर, अब यी तीन देशबीचमा निर्णायक संवाद हुने अवस्थाको कति नजिक छौं हामी ?
बंगलादेशले पनि धेरै बिजुली किन्न चाहेको छ । नेपाल र बंगलादेशको बीचमा सिधा डेडिकेटेट लाइन बनोस् भन्ने छ । नेपालमा, जस्तै सुनकोशी–३ मा लगानी गर्न पनि उसको चासो छ । लगानी गर्न इच्छुक पनि छ । नेपालमा उत्पादित बिजुली बेच्न नेपाल तयार छ, किन्न बंगलादेश तयार छ । तर, दुई देशबीच सोझो भूगोल र पूर्वाधार छैन । त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्ने भन्ने हाम्रो पहल हो । यो विषयमा भारत र नेपालको बीचमा र बंगलादेश र नेपालको बीचमा समझदारी भइसक्यो, अब बंगलादेश र भारतको बीचमा पनि सहमतिको प्रक्रिया अघि बढेको छ । जुन स्तरमा सहमति भएको छ, त्यो पनि ठूलो उपलब्धि हो, त्यसका आधारमा थप प्रगतितर्फ अघि बढ्ने निश्चित नै भएको छ । भारत पनि बिजुलीको माग अझै बढाउने पक्षमा छ, त्यसैले पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र (फाइनल) गर्ने र लगानीको मोडालिटी एक वर्षभित्र निश्चित गर्ने भनिएको हो ।

पञ्चेश्वर परियोजनाको डीपीआर निश्चित गर्ने र लगानीको मोडालिटी तय गर्ने भनेर अहिले जुन कुरा भएको छ, प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा आउँदा पनि त्यही कुरा भएको रहेछ । यो अघि नबढ्नुका जटिलता के रहेछन् ?
यस पटक फरक के छ भने तीन महिनाभित्र डीपीआर तयार गर्ने प्रतिबद्धता भएको छ । यसअघि समय तोकेर भएको थिएन । योजनाबद्ध ढंगले पहिलो पटक २६ वर्षपछि भयो । यही रूपमा पहिले भएको थिएन । यसका केही जटिलता छन् । पञ्चेश्वरको सन्दर्भमा तल्लो शारदामा प्रयोग भएको पानीको सरोकार छ । तर, महाकाली सन्धिमा तल्लो शारदाको चर्चा छैन, केही पनि छैन । हामी कहाँनेर अप्ठ्यारोमा पर्‍यौं भने तल्लो शारदा आइदिने, ‘एक्जिस्टिङ युज अफ वाटर’ को सन्दर्भ पनि आउने, त्यसपछि महाकाली सन्धि र पञ्चेश्वर अगाडि नबढ्ने । अहिलेचाहिँ हामी सिधै महाकाली सन्धिलाई नै केन्द्रबिन्दु बनाएर पहिला डीपीआर तयार पार्ने योजनामा लागेका छौं । डीपीआर तयार भएपछि बनाउने प्रक्रिया स्वतः अगाडि जान्छ । यो बाटोबाट जाने नीति लियौं । तर, नेपालमा र पहिला भारतमा पनि जसरी छलफल भएको थियो, अहिले त्यो रूपमा कुरा आएन । फेरि नयाँ रूपमा अगाडि बढाउने भन्ने छ ।

फेरि पनि प्रधानमन्त्रीकै स्तरबाट जवाफ आउनुपर्ने विषय के हो भने नेपालले स्वाभाविक रूपमा पाउनुपर्ने थप हवाई रुटमा यसपालि पनि सहमति किन हुन सकेन ? ॅहाई अल्टिच्युड’ मा सहमति नदिने, ॅलो अल्टिच्युड’ मा मात्र सहमति दिने भनिएको छ, यसले विश्वासकै स्तर अझै तल छ भन्ने देखाउँछ हैन ?
एयर रुटको कुरा हाम्रा लागि अलि बढी महत्त्वको थियो । यो विषय पेचिलो पनि थियो । एयर रुटमा नेपालगन्जबाट ‘लो अल्टिच्युड’ मा उडानमा भारतले सहमति दिएको छ, त्यो भनेको १५ हजार फिटसम्मको उचाइमा एटीआर जहाज नेपालगन्जबाट भारतका विभिन्न सहरमा आउजाउ गर्न सक्छन् । तर, हामीले मागेको त ‘हाई अल्टिच्युड’ अर्थात् ३० हजार फिटभन्दा माथि उड्ने जहाजको हो । हाम्रो जोड पनि त्यसैमा छ । मैले महेन्द्रनगरतिरबाट हुँदा सबैभन्दा राम्रो हुन्छ भनेको छु । उनीहरूले त्यसमा हामी ‘पोजिटिभ’ छौं भनेको हुनाले त्यसलाई पनि हामीले महत्त्व दिनैपर्छ ।

अब सिमानातर्फ अघि बढौं । स्वाभाविक रूपमा समस्त सीमाजस्तै कालापानी क्षेत्रको विषयमा पनि नेपालीजनलाई चासो छ । त्यस विषयमा तपार्इंले बिहान हामी सञ्चारकर्मीहरूसँग कुरा गर्दा कालापानीको सट्टा बंगलादेश जाने बाटो लिन सकिन्छ भन्ने संकेत गर्नुभएको थियो । त्यसको आधार र मोडालिटी के हो ?
त्यो पनि हुन सक्छ भनेको हो, त्यही नै हुन्छ भनेको होइन । कालापानी वा सीमा विवादका बारेमा भारतीय प्रधानमन्त्रीको हैसियतबाट पहिलो पटक मोदीजीले मैलेभन्दा पहिले बोल्नुभयो । मोदीजीले (अब सीमा समस्या हल गरिन्छ) भन्नुभयो । तपाईंहरूले पनि नोट गर्नुभएको होला, पहिले यस्तो हुँदैनथ्यो । नेपालले भन्ने तर भारतले त्यसलाई सहज रूपमा लिन नसक्ने प्रक्रियाबाट हामी गुज्रिएर आएका हौं । तर, अहिले भारतीय प्रधानमन्त्रीले सीमा समस्या समाधान गरिन्छ, वातावरण बनाएर हल गरिन्छ भन्नुभएको छ । मैले यो कुरा उठाएँ, उठाउने नै तय थियो । मलाई खुसी के छ भने हाम्रो छलफलपछि मोदीजीले अघि सरेर सिमानाको समस्या पनि हल गर्छौं भन्नुभयो । यो सुरुवात हो । समाधान कसरी हुन्छ, अब त्यसका बारेमा प्रक्रियागत रूपमा काम हुन्छ ।

जिज्ञासा के भने, कालापानीको सट्टा बंगलादेश जोड्ने भूमि लिन सकिन्छ भनेर तपार्इंले संकेत गर्नुभयो, यो नेपालका विज्ञहरूले भनेको विषय मात्रै हो कि कूटनीतिक रूपमा पनि केही कुरा भएका छन् ?
मैले बिहान पनि भनेको थिएँ, विकल्प धेरै छन् । पहिलो कुरा त, त्यो भूमि तपाईंहरूको हो भनेर भारतले फिर्ता गर्ने विकल्प सबैभन्दा राम्रो हुन सक्छ । अर्को, त्यति नै जमिन हामीलाई अनुकूल हुने ठाउँमा भारतले दिएर सहमति गर्नुपर्छ भन्ने मत पनि सुनिन्छ । कतिपय नेपालका विज्ञहरूले भारतले बंगलादेश जाने बाटो र त्यसका लागि जमिन दिने हो भन्ने सहमति गर्न सकिन्छ भनेका छन् । विकल्प विभिन्न छन् तर त्यसभित्र प्रवेश गरेर छलफल गरिएको छैन । मोदीजीलाई मैले भनेको थिएँ, बंगलादेशसँग त्यति लामो समयसम्मको समस्या हल गरेजस्तै नेपालसँगको समस्या हल गर्न किन नसकिने ? उहाँले गर्न सकिन्छ र गर्नुपर्छ भन्नुभयो । राजनीतिक रङ नदिई, शान्तसँग बंगलादेशसँग समस्या सुल्झाएजस्तै गृहकार्य गर्ने हो भने कुनै उपाय निकाल्न सकिन्छ । त्यसलाई पहिले राजनीतीकरण गरियो भने झन् जटिल हुन्छ भन्ने चिन्ता प्रधानमन्त्री मोदीजीले आफैं व्यक्त गर्नुभयो । त्यो भनाइले मलाई वास्तावमै प्रभावित गरेको छ । त्यसैले, हामीले विभिन्न विकल्पहरूका बारेमा सोच्ने, ट्र्याक टुमा कुरा गर्ने, द्विपक्षीय संयन्त्रमा छलफल गर्दै एउटा ठाउँमा पुर्‍याएर टुंग्याउने ।

अब अन्तिममा एउटा टिप्पणीसहितको प्रश्न, भारत भ्रमण सकियो, अब चीन वा अन्य देश जाने बाटो खुल्यो होइन प्रधानमन्त्रीज्यू ?
म त्यसरी भन्दिनँ । म नै हो पहिले चीन गएको । छिमेकीको भ्रमण गर्ने स्वाभाविक कारण हुन्छन् । तर, त्यसमा त्यस्तो निश्चित विधि छैन । चीन जान सकिन्छ होला, अमेरिका पनि गइएला । मुख्य विषय त्यो होइन । मुख्य विषय के हो भने भएका रचनात्मक कामलाई पनि कदर नगर्ने बरु गाली गलौज गर्ने प्रवृत्ति बढेको छ । तर, मैले के ठानेको छु भने जसले जति गाली गरे पनि नेपाल राष्ट्रको हितमा काम गर्छु । यस पटक सम्पूर्ण तागत लगाएर काम गर्छु ।

Page 4
समाचार

सुनकोसीमा गाडी खस्दा ३ बेपत्ता

सिन्धुली (कास)– मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोसी नदीमा सीटीईभीटीको सरकारी स्कोर्पियो गाडी शुक्रबार खस्दा ३ जना बेपत्ता भएका छन् ।
चालक पौडिएर निस्किएका छन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बीएबी ७४६७ नं को स्कोर्पियो जिप नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चालक कृष्ण चौधरी पौडिएर निस्किएका छन् । उनको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । सशस्त्र प्रहरीको गोताखोर टोलीले साँझसम्म खोजी गर्दा वेपत्ताहरू र गाडी भेटिएको छैन ।
गाडी सुनकोशीमा खसेको स्थानबाट एक सय मिटर आसपास टोलीले खोजी गरेको हो । टोलीमा ४ गोताखोर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहानदेखि पुनः खोजी गरिने एसपी लिवालले बताए ।

समाचार

१८ अभियुक्तविरुद्ध आइतबारदेखि थुनछेक बहस

- मातृका दाहाल

(काठमाडौं)
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न अभियुक्तमाथि आइतबारदेखि थुनछेक बहस हुने भएको छ । यो प्रकरणमा गत जेठ १० गते पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उनीहरूविरुद्ध ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध अभियोग लगाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जेठ १२ बाट अदालतले प्रतिवादीसँग बयान सुरु गरेकामा शुक्रबार सकिएको छ । शुक्रबार खाण, रिजाल र रकम असुल्ने गिरोहका हरिभक्त महर्जनसँग बयान लिएको थियो । मुद्दामा अभियुक्त बनाइएका ३० मध्ये १८ जना अहिले न्यायिक हिरासतमा छन् । अदालतका सूचना अधिकारी दीपक दाहालले प्रतिवादीमध्ये हिरासतमा रहेकासँग शुक्रबार बयान सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुने बताए । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारिख वा धरौटीमा छोड्ने वा पुर्पक्षका क्रममा कारागार पठाउने भन्ने टुंगो लाग्छ ।
यो प्रकरणका प्रतिवादी केही ‘उच्च पदस्थ’ले आफूमाथि लागेको अभियोगमा इन्कारी बयान दिएको स्रोतको भनाइ छ । तर, अनुसन्धानबाट खुलेका तथ्य र प्रमाण कसुर पुष्टि हुने खालका रहेको एक प्रहरी अधिकारीले बताए । पक्राउ १६ र फरार १४ गरी ३० विरुद्ध सरकारी वकिल कार्यालयले राज्यविरुद्धको अपराधसहित चारवटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । २०७९ चैत १२ मा गिरोहका तीन नाइकेलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर ठगीमा अघि बढाएको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव पाण्डे, रिजालसहित १६ जना विभिन्न मितिमा पक्राउ परेका थिए । गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, पूर्वसांसद शेर्पा, हज समितिका अध्यक्ष मियाँ, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, टंक गुरुङ, रामशरण केसी, खाण गृहमन्त्री हुँदा उनका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरी पनि अनुसन्धानकै क्रममा पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएर मुद्दा अदालतमा दर्ता भइसकेपछि लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए । अपराधमा उनीहरूको पनि भूमिका र संलग्नता खुलिसकेको छ । मुद्दामा प्रतिवादी बनाइएकामध्ये केशव तुलाधार, अशोक पोखरेल, धीरेन राई, दीपाञ्जली हुमागाईं, नीरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सामदेव लिम्बू, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् । विस्तृत हुलिया नखुलेका अरू तीन जना फरार सूचीमा छन् । तर, मुद्दा भने पक्राउ परेपछि अघि बढ्ने प्रहरीले जनाएको छ ।
फरारमध्येका अशोक पोखरेल र नीरज राई अमेरिका भागेको प्रहरी आशंका छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक पनि विदेश फरार भएको प्रहरी स्रोतको भनाइ छ । अदालतबाट थुनछेक बहस सकिएपछि पनि पक्राउ नभएमा उनीहरूविरुद्ध इन्टरपोलमार्फत खोजी जारी राखिने प्रहरीका एक अधिकारीले जानकारी दिए । प्रहरीले करिब २ महिना लगाएर टुंग्याएको अनुसन्धानमा २ पूर्वमन्त्री र बहालवाला सचिवसहितका ‘हाइप्रोफाइल’ नै मुछिएपछि मुद्दा प्रभावित पार्न शक्तिकेन्द्रबाट चलखेल भएका थिए । अनुसन्धानका क्रममा प्रहरी कार्यालयमै पुगेर आरोपितको पक्षमा लबिइङ गर्दै अनुचित भेटघाट र भनसुन पनि भएका थिए । तर, अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणसहित यसलाई न्यायिक प्रक्रियामा लैजान सफल भएको प्रहरीको भनाइ छ ।

Page 5
अर्थ वाणिज्य

फलफूलदेखि तरकारीसम्म थपियो भ्याट

- सीमा तामाङ

(काठमाडौं)
सरकारले गुलाब, कार्नेसनलगायत सजावटका फूलदेखि फलफूल, तरकारीजन्य वस्तुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गुलाब, कार्नेसन, अर्किड, क्रियानथेम, लिली, अन्य, गुच्छा वा गुलदस्ता बनाउने वा सजावटका लागि उपयुक्त हुने फूल आयातमा भ्याट लगाएको हो ।
स्वदेशी उत्पादन खपतका लागि आयातित फूलमा थप कर बढाउन आग्रह गरेको भए पनि सरकारले मूल्य अभिवृद्धि कर लगाएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाले बताए । ‘आयात हुने फूलमा भन्सार ५ प्रतिशत र कृषि सुधार शुल्क ५ प्रतिशत मात्र लाग्थ्यो । त्यसैले आयात निरुत्साहित गर्न कर बढाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो,’ उनले भने, ‘सरकारले आयातमा मूल्य अभिवृद्धि कर मात्रै लगाएको रहेछ, जसले गर्दा आयातित कम हुन्छ । स्वदेशीलाई फाइदा नै हुन्छ । भ्याट सीमा कटेपछि स्वदेशी पनि भ्याटको दायरामा जानुपर्ने देखियो ।’
प्याज, केराउ, फ्रोजन सागपात, आलु, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा कर लगाइएको हो । एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य, स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किबी फ्रुट, हलुवावेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लगाएको हो । यी वस्तुमा गत वर्ष मूल्य अभिवृद्धि लाग्ने गरेको थिएन ।
आगामी आर्थिक वर्षको बजेटले कृषिजन्य वस्तुमा भ्याट लगाएर आयात निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गरेको छ । आयातित कृषिजन्य वस्तुमा सरकारले कम कर लगाउँदा स्वदेशी उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकेको थिएन । स्वदेशी मूल्यका भन्दा आयातित तरकारी सस्तो भएकाले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा कृषिजन्य वस्तुमा कर लगाउनु राम्रै नीति लिएको कृषिविज्ञ छवि पौडेलले बताए । ‘भ्याट लगाएर स्वदेशी किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ,’ उनले भने, ‘उपभोक्तालाई भने महँगो हुनेछ तर किसानलाई फाइदा हुन्छ ।’
भारतमा कृषि उत्पादनमा अनुदान दिने हुँदा धेरै मात्रामा उत्पादन हुने र सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनले जनाए । सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर छुट दिएको थियो । तर अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत ती वस्तुमा दिइँदै आएको छुट खारेज गरेका छन् । ‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष पनि कृषिजन्य वस्तुमा भ्याट लाग्ने गरेको थियो । गत वर्षको सरकारले भने छुट दिने निर्णय गरेको थियो । यो सरकारले पुनः निरन्तरता दिएको हो ।
कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ । सरकारले हवाईजहाजका पार्टपुर्जामा पनि कर लगाएको छ । यसरी भ्याट लगाउँदा आयात हुने वस्तु १३ प्रतिशत महँगिने भएको छ । यस वर्ष १४० वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको अर्थ मन्त्रालयका राजस्व महाशाखाका प्रमुख तथा सहसचिव रितेश शाक्यले जानकारी दिए । ‘सरकारले आयात हुने वस्तुमा भ्याट लगाएको हो, स्वदेशी वस्तुको हकमा भ्याटको सीमा कटेपछि लाग्नेछ,’ उनले भने । मूल्य अभिवृद्धि कर नियमावली, ०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र वस्तु तथा सेवाको हकमा २० लाख रुपैयाँ भ्याटको सीमा छ ।

अर्थ वाणिज्य

हवाई यात्रामा पनि थपियो कर

काठमाडौं (कास)– आर्थिक वर्ष ०८०/८१ देखि हवाई टिकटमा १३ प्रतिशत अभिवृद्धिकर (भ्याट) र विदेश भ्रमणमा जाने नेपालीलाई वैदेशिक पर्यटन शुल्क लाग्ने भएको छ । सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ आउने र जाने गरी १ करोड २९ ले यात्रा गरेको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । यसअनुसार सरकारले हवाई यात्रुबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धिकर उठाउनेछ ।
अर्थ मन्त्रालय मातहत रहने कर कार्यालयले वायुसेवा कम्पनीहरूलाई साउन १ देखि लागू हुने गरी टिकटमा मूल्य अभिवृद्धिकर लागू गर्न निर्देशन दिइसकेको छ । सरकारले लागू गरेको मूल्य अभिवृद्धिकरले वायुसेवालाई नभई यात्रुलाई हवाई टिकटमा आर्थिक भार थपिने बुद्ध एयरका एक अधिकारीले बताए । ‘भारतमा यो पहिलेदेखि नै लागू छ,’ ती अधिकारीले भने, ‘बुद्धले काठमाडौं–बनारस उडानमा प्रत्येक यात्रुको कर संकलन गरेर बुझाउने गरेको छ ।’
नयाँ बजेटमार्फत लागू गर्न खोजिएको आउटबाउन्ड टुरमा ५ प्रतिशत तथा हवाई टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट के कसरी र कुन आधारमा लिइने हो, त्यसको स्पष्ट व्यवस्था नभएकाले यसको कार्यान्वयन पक्ष जटिल रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस विषयमा वायुसेवा सञ्चालकले भने केही प्रतिक्रिया दिएका छैनन् । नागरिक उड्डयन प्राधिकरणले अर्थ मन्त्रालयबाट कार्यविधि आइनसकेको जनाएको छ । पर्यटनमन्त्री सुदन किरातीले पनि अर्थ मन्त्रालयले यस विषयमा जानकारी नदिएको बताएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले भने थुप्रै विदेशी वायुसेवा करको दायरामा नआएकाले हवाई यात्रुको टिकटमा मूल्य अभिवृद्धिकर ल्याइएको दाबी गरे । भारत भ्रमणबाट फर्किएपछि भ्याट र विदेश भ्रमणमा जाने नेपालीका लागि लागू गरिएको वैदेशिक पर्यटन शुल्क असुलबारे अर्थ मन्त्रालयले विस्तृत कार्यविधि बनाउने उनले जनाए ।

अर्थ वाणिज्य

भन्सार बढेपछि सुनको मूल्यमा कीर्तिमान

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– पछिल्लो एक महिनालाई हेर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । वैशाख २१ मा सुनको मूल्य प्रतिऔंस २०५० डलर पुगेको थियो । उक्त दिन नेपालमा १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा १ महिनाअघिको तुलनामा मूल्य घटेर शुक्रबार प्रतिऔंस १९७८ डलर हाराहारीमा छ । तर नेपालमा भने तीन दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड बनिरहेको छ ।
बुधबार प्रतितोला १ लाख १२ हजार, बिहीबार १ लाख १२ हजार ५ सय र शुक्रबार १ लाख १३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले एक महिनाअघिकै रेकर्ड तोड्न नसकेका बेला नेपाली बजारमा कसरी नयाँ रेकर्ड बन्न पुग्यो ? यसको मुख्य कारण सोमबारको बजेटले सुनको भन्सार शुल्क बढाउनु रहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यको दाबी छ । ‘बजेटमार्फत सुनको भन्सार दर १० बाट १५ प्रतिशत पुगेको छ, सोअनुसार समायोजन गर्दा नेपालमा बुधबारदेखि नै नयाँ रेकर्ड बन्यो,’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य घट्दै जाँदा बजेट घोषणा हुने दिन नेपालमा १ लाख ८ हजार १ सय रुपैयाँमा सुनको मूल्य झरेको थियो । तर बजेटले एकाएक भन्सार शुल्क बढाउँदै सुनलाई विलासिताको वस्तुमा राखेपछि मूल्य ह्वात्तै बढेको शाक्यको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस १९४० डलरसम्म घटेको सुन शुक्रबारसम्म आउँदा बढेर १९७८ डलरमा पुग्यो । यद्यपि एक महिनाअघिको २०५० मा डलरको कीर्तिमानी तोडिएको छैन । नेपालमा भने भन्सार दर बढेपछि त्यसलाई पनि समायोजन गर्दै जाँदा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको व्यवसायी शाक्यले बताए ।

अर्थ वाणिज्य

सडक ढलान प्रविधि कार्यान्वयन गर्न मापदण्ड माग

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सडक ढलान प्रविधि कार्यान्वयन गर्न मापदण्ड लागू गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले बजेटमा ‘स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गरिने’ व्यवस्था गरेपछि सम्बन्धित निकायले मापदण्ड लागू गर्नुपर्ने माग गरेका छन् ।
ढलान प्रविधिबाट सडक निर्माण गर्दा टिकाउ एवं गुणस्तरीय सडक निर्माण हुने र बिटुमिन (अलकत्रा) को आयात घट्ने आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख छ । सिमेन्ट उद्योगीले लामो समयदेखि माग गर्दै आएको मुद्दालाई सरकारले आगामी बजेटमा कार्यान्वयनमा ल्याउन खोजेको हो । कान्तिपुर मिडिया ग्रुपले शुक्रबार आयोजना गरेको ‘आत्मनिर्भर सिमेन्ट निर्यातको पाटो र ढलानको बाटो’ विषयक राउन्ड टेबलका सहभागीले अब कालोपत्र सडकबाट पक्की सडक निर्माणतर्फ जानुपर्ने सुझाए ।
सरकारले नेपाली सिमेन्टलाई पक्की सडकमा खपत गराउने विषय बजेटमा उल्लेख गरेको विषय सकारात्मक भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । ‘पक्की सडक बनाउन सिमेन्टको प्रयोग बढाउन केही वर्षदेखि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएका थियौं,’ उनले भने, ‘सिमेन्ट प्रयोग गरेर सडक बनाउँदा उद्योग पनि बच्छ, सडक पनि सुध्रिन्छ ।’
कालोपत्र सडक २/३ वर्षभन्दा बढी टिकाउन कठिन हुने उनको दाबी छ । ‘सरकारी निकायले गरेको कालोपत्र सडक एक वर्ष पनि टिक्दैन, ठाउँठाउँमा भ्वाङ परिसकेको हुन्छ,’ उनले भने, ‘जसले गर्दा पूर्वाधार निर्माणबारे समाजमा नकारात्मक प्रभाव परेको छ । त्यसैले अब यसका लागि पक्की सडकमा जानैपर्छ ।’ मापदण्ड नभएकै कारण जथाभावी पक्की सडक बनाइएको उनले बताए ।
‘राजमार्गमा पक्की सडक बनाउनेबारे मापदण्ड बनिरहेको जानकारी सडक विभागबाट पाएका छौं,’ उनले भने, ‘तर सिमेन्ट उत्पादक संघको विज्ञ टोलीले मुख्य राजमार्गबाहेक सडक बनाउन आवश्यक मापदण्ड बनाई प्रदेश र गाउँपालिकामा पठाइसकेको छ ।’ सबै सडक निर्माणमा मापदण्ड लागू गर्न सके गुणस्तरीय सडक बन्ने उनको भनाइ छ । ‘चाँडो मापदण्ड लागू गर्न सकिए बलियो र गुणस्तरीय सडक बन्ने थियो,’ उनले भने, ‘पक्की सडक बनाउन सके ३० देखि ४० वर्ष टिकाउयुक्त पनि हुन्छ ।’
अहिलेसम्म अलकत्रा (बिटुमिन) प्रयोग गरी सडक बनाउने गरिएको छ । सिमेन्ट प्रयोग गरेर पक्की सडक बनाउन थाले पनि त्यो नगण्य मात्रामा रहेको निर्माण नेपाल निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्य गीता शाही बताउँछिन् । ‘नेपाली सिमेन्ट उद्योग आत्मनिर्भर भएकाले यसको प्रयोग सडक पूर्वाधारमा सहजै बढाउन सकिन्छ,’ उनले भनिन्, ‘तर यसको प्रयोग कसरी प्रयोग गर्ने भन्नेबारे मापदण्ड बनाएर अघि बढ्नुपर्छ । कालोपत्र सडकको विकल्पमा पक्की सडक निर्माणलाई तीव्रता दिनुपर्छ ।’ अहिले अलकत्रा बाहिरबाट ल्याएर सडक कालोपत्र गर्नुपर्ने भएकाले त्यसको गुणस्तरबारे नै थाहा नहुने उनको भनाइ छ । ‘ल्याउने प्रक्रिया झन्झटिला छन्, यसले समय पनि बढी लाग्छ,’ उनले भनिन्, ‘तर नेपालमै उत्पादित सिमेन्ट प्रयोग गर्न सके खपत बढाउन सकिन्छ । सडक पनि बलियो बन्छ ।’
सिमेन्ट उद्योगलाई मात्र नभएर निर्माण क्षेत्रलाई नै कसरी अघि बढाउने भनेर सरकारले नीतिनियम ल्याउनुपर्ने शिवम् सिमेन्टका उपाध्यक्ष निखिल अग्रवालको भनाइ छ । ‘एक त कालोपत्र सडकको भारवहन क्षमता नै कम छ, त्यसमाथि बढी भारवहन क्षमताका ट्रक चल्दा सडक छिट्टै बिग्रिने समस्या छ,’ उनले भने, ‘पक्की सडक निर्माण गर्दा यस्तो समस्या हुन्न ।’ अहिले कालोपत्र सडक हुँदा २१ टन सामान ल्याउने ट्रकले भविष्यमा ३५ टन सामान ल्याउन सक्ने उनको भनाइ छ । ‘यसले ढुवानी भाडासँगै बिक्री मूल्य र उत्पादन मूल्य पनि कम हुनेछ,’ उनले भने, ‘यस दृष्टिले पनि पक्की सडकको आवश्यकता छ ।’
बजेटमार्फत अर्थमन्त्री प्रकाशशरण महतले सिमेन्ट खपतका लागि बाटो खोलिदिएको घोराही सिमेन्ट वित्त प्रमुख अनिल अग्रवालले बताए । ‘निश्चित मापदण्डका आधारमा पहाडी भूभागमा ढलान प्रविधिबाट सडक बनाउन माग गर्दै चारपाँच वर्षदेखि सरकारलाई आग्रह गरिरहेका थियौं,’ उनले भने, ‘अहिले सरकारले हाम्रा कुरा सुनिदिएको छ । अलकत्रा सडक निर्माणको तुलनामा ३०/३५ प्रतिशत महँगो भए पनि पक्की सडक टिकाउयुक्त हुन्छ ।’ नेपालको हकमा सिमेन्टको खपत बढाउन र टिकाउ सडक बनाउन पक्की सडकको विकल्प नभएको उनको भनाइ छ । ‘सरकारी बजेट हेर्दा करिब एकतिहाइ निर्माण क्षेत्रमा जान्छ,’ उनले भने, ‘त्यसैले अब सिमेन्टको खपत बढाउने गरी टिकाउ पूर्वाधार निर्माणमा जानुको विकल्प छैन ।’
बिटुमिनको विकल्पका रूपमा सिमेन्टको प्रयोग निर्माण क्षेत्रमा बढाउन सकिने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘चालु आर्थिक वर्षमा ७ अर्ब रुपैयाँको बिटुमिन आयात भएको छ, असारसम्म निर्माणको काम हुने भएकाले त्यति बेलासम्म ९ अर्ब रुपैयाँसम्म पुग्न सक्छ,’ उनले भने, ‘यो आयात पहिलो वर्ष ५ अर्ब रुपैयाँले घटाउन सके पनि ठूलो उपलब्धि हुन्छ ।’ बिटुमिनको आयात घटाएर ठूला आयोजनामा यसको प्रयोग बढाउन सकिने उनको भनाइ छ । ‘उत्पादनजन्य उद्योग भएकाले सिमेन्ट उद्योगीलाई गाह्रो छ, जग्गा, वातावारण आदिको समस्या आइरहन्छ,’ उनले भने, ‘त्यसैले विद्युत् आपूर्तिमा सहुलियत दिन सके उद्योग सहज रूपमा चल्न सक्थे ।’
१५ वर्षअघिबाट स्थानीय सिमेन्ट उद्योगलाई प्राथमिकता दिएर सडक निर्माणमा यसको प्रयोग गरिरहेको सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्यले बताए । ‘स्टिल ब्रिज’ को विकल्पका रूपमा पक्की पुल बनाउने कामलाई तीव्र पारिएको पनि उनको भनाइ छ । ‘सकेसम्म स्टिल ब्रिज नबनाऔं भन्नेमा छौं,’ उनले भने, ‘त्यसैले ९९ प्रतिशत पक्की पुल सिमेन्ट नै प्रयोग भएर बन्ने गरेका छन् ।’ नेपाली सिमेन्टको गुणस्तरमा अहिले सुधार हुँदै गएकाले भविष्यमा पक्की सडक निर्माणमा जान सकिने उनको भनाइ छ ।
‘केही वर्षअघिसम्म स्थानीय उत्पादनको विकल्पका रूपमा बाहिरबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यता थियो, नेपाली सिमेन्टको गुणस्तरमा समस्या थियो,’ उनले भने, ‘अहिले उत्पादन र गुणस्तरमा सुधार भइसकेको छ । अब पक्की सडक निर्माणमा पनि जान सकिने आशा जगाएको छ ।’

Page 6
अर्थ वाणिज्य

सरकारी डेटा सेन्टर खारेज

- सजना बराल

(काठमाडौं)
सरकारले नवीनतम र आधुनिक प्रविधिमार्फत आफ्नो सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने बताइरहँदा सरकारी निकायका सम्पूर्ण डिजिटल सामग्री सुरक्षित राखिने एकमात्र आधिकारिक सरकारी निकाय राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरिदिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत सरकारी डाटा बैंकका रूपमा सञ्चालित उक्त डेटा सेन्टर खारेज गर्ने बताएका हुन् ।
कुनै पूर्वसूचना र उचित योजनाबिनै सरकारले कार्यालय खारेज गरिदिएपछि आफूहरू अलमलमा परेको केन्द्रका इन्जिनियरहरू बताउँछन् । ‘आईटीको युगमा आईटीकै संस्था खारेज हुँदा कसैलाई पनि फाइदा हुँदैन,’ केन्द्रका एक कम्प्युटर इन्जिनियरले भने, ‘यतिका वर्ष लगाएर तयार भएको संस्था र तालिमप्राप्त हामी जस्ता कर्मचारीहरूलाई अझै सक्षम बनाउनुको साटो संस्था विलय गराइएको छ । अब अर्को निकायमा गाभिँदा हनुमानले पहाड उचालेझैं यो संस्थाको चामत्कारिक सुधार हुन्छ भन्ने छैन ।’
विद्युतीय सरकार कार्यान्वयनका लागि केन्द्रीय भूमिका खेल्ने यो निकाय अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा गाभिने भएको छ । यसका लागि मन्त्रालयले ओएनएम बनाइरहेको विभागका निर्देशक एवं प्रवक्ता लोकराज शर्माले जानकारी दिए । केन्द्रले डिजिटल डाटा भण्डारण, व्यवस्थापन, प्रशोधन र आदानप्रदानको काम गर्दै आएको थियो । देशभरका करिब १४ सय सरकारी कार्यालयका वेबसाइट होस्ट गर्नुका साथै केन्द्रमा ३ हजारभन्दा बढी सरकारी कार्यालयका डोमेन नेम सिस्टम दर्ता थिए ।
बारम्बार सर्भर डाउन हुने, सरकारी कार्यालयका वेबसाइट अवरुद्ध हुने, सर्भरमा साइबर आक्रमण हुने, सेवाग्राहीका डेटा हराउने जस्ता समस्याका कारण केन्द्रको आलोचना हुने गरेको थियो । तर संस्थाको क्षमता बढाउनुको साटो त्यसलाई खारेज गर्ने वा खुम्च्याउने काम सही नभएको विज्ञहरू बताउँछन् । ‘केन्द्रका अनेक समस्या र त्रुटि थिए । तर यसलाई खारेज गर्दैमा वा अर्को निकायमा गाभ्दैमा ती समस्या समाधान हुँदैनन्,’ सूचना प्रविधिविज्ञ विवेक राणा भन्छन्, ‘संस्थाको सामर्थ्य बढाउनुपर्नेमा प्रविधि विभाग जस्तो आफैंमा कमजोर निकायमा गाभ्नु उचित होइन ।’ सूचना प्रविधिको एक ठूलो निकाय खारेज हुनु र अर्कोमा गाभिनुलाई विज्ञ राणाले सूचना प्रविधिमा सरकारको दूरदृष्टि नभएको रूपमा अर्थ्याएका छन् । नीतिगत र कार्यान्वयन तहका काम गर्दै आएको विभागले डेटा सेन्टर सञ्चालनजस्तो प्राविधिक तहमा काम गर्न सक्नेमा उनले शंका व्यक्त गरे ।
विद्युतीय सुशासनका लागि अघि सारिएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले विश्व बैंकसँगको पनि सहयोगमा जम्मा पारेको २२ अर्ब रुपैयाँबाटै केन्द्रलाई सबलीकरण गर्न सकिने विज्ञ राणाको भनाइ छ । ‘लोक सेवाको डेटा हरायो, सर्भर डाउन भयो भनेर सरकारले संस्था खारेज गरेको छ,’ उनले भने, ‘हामीकहाँ सुधार भन्नासाथ संरचनामै हेरफेर गर्ने चलन छ । नीतिगत वा पूर्वाधार सुधारमा ध्यान दिइँदैन ।’ केन्द्रलाई सुध्रिने मौका दिइनुपर्नेमा अन्यथा गरिएको उनले बताए ।
सरकारले एकीकृत डेटा सेन्टरलाई खारेज गर्ने भनिरहँदा क्षेत्रीय डेटा सेन्टरको विस्तारमा भने बजेट विनियोजन गर्नुका साथै सम्भाव्यता अध्ययन गरिने जनाएको छ । नेपालगन्जको कोहलपुरमा डाटा सेन्टर निर्माणको कामलाई तीव्रता दिन बजेट व्यवस्था गरिएको अर्थमन्त्री महतले बताएका थिए । धरानमा पनि डाटा सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सरकारको योजना छ । यद्यपि पछिल्ला वर्षहरूका नीति तथा कार्यक्रम र बजेट भाषणहरूमा लगातार दोहोर्‍याइने तर कार्यान्वयन सुस्त रहेका योजनामध्ये डाटा सेन्टर निर्माण पनि पर्छन् ।
‘सरकारी एकीकृत डाटा केन्द्रलाई बलियो बनाउनुको साटो सरकारले बर्सेनि नयाँ–नयाँ डाटा सेन्टर बनाउने बताइरहेको छ,’ अर्का प्रविधिविज्ञ मनोहर भट्टराई भन्छन्, ‘तिनको आवश्यकता छ/छैन भन्ने अध्ययन भएको छैन । क्लाउड सेवासमेत दिइरहेको केन्द्रलाई व्यवस्थित र सबल बनाउने योजना ल्याउनुपर्ने हो । तर ठूलो धनराशि खर्च हुने डाटा सेन्टर बनाउनमा सरकारको ध्यान छ । सामान खरिदको उद्देश्यले मात्रै यस्ता योजना ल्याइएका हुन् कि भन्ने लाग्छ ।’
पछिल्लो समय नेपालमा निजी क्षेत्रका कम्पनी पनि डाटा सेन्टर स्थापना र सञ्चालनमा तीव्रतासाथ लागिपरेका छन् । कतिपय दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकले यसमा लगानी बढाइरहेका बेला सरकारले भने आफ्नो केन्द्रीय निकायलाई खुम्च्याउने काम गरिरहेको विज्ञहरू बताउँछन् । एनसेल आजिएटा, डिस होम, वर्ल्डलिंकलगायत सेवा प्रदायकले उच्च क्षमता, बलियो सुरक्षा प्रणाली र गतिलो ब्याकअपसहितको डाटा सेन्टर निर्माणमा अघि बढेका देखिन्छन् ।
एनसेलले गत फागुनदेखि ललितपुरस्थित नक्खुमा आधुनिक प्रविधिसहितको डाटा सेन्टर सञ्चालनमा ल्याएको थियो । करिब २ अर्ब लगानीमा बनेको दुईतले भवनमा सञ्चालित उक्त सेन्टरमा २ सय ५० वटा र्‍याक, २२० भोल्टका ८८ वटा एसी र्‍याक, तीन वटा डेटा हल, स्वचालित प्रज्वलन प्रतिरोधात्मक प्रविधि र ४८ भोल्टका १६२ वटा डीसी र्‍याक समावेश छन् । हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको एक कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले मोबाइल टावर मात्र नभएर कम्पनीले डेटा सेन्टर र आईटी इकोसिस्टम विकासमा पनि लगानी गरिरहेको बताएका थिए ।
डीटीएच सेवा प्रदायक डिसहोमले पनि भैंसेपाटीस्थित आफ्नो मुख्यालयमा २० वटा र्‍याकसहितको कन्टेनर–बेस्ड डाटा सेन्टर सञ्चालन गरिरहेको छ । डेटा सेन्टर विकासमा आफूहरूसँग जर्मनीलगायत विभिन्न देशका संस्थाले सहकार्यका लागि चासो व्यक्त गरिरहेको डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यको भनाइ छ । ‘गुगललगायत संस्थाले पनि चासो देखाएपछि हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सेवा दिने गरी हालै मात्र आईएसओ ९०० प्रमाणपत्र लिएका छौं,’ उनले भने, ‘खर्च एवं सञ्चालन लागतका हिसाबले सस्तो र चिसो हावापानी भएकाले डेटा सेन्टर सञ्चालनका लागि नेपाल उत्तम विकल्प हुन सक्छ ।’
फेसबुक, माइक्रोसफ्ट, अमेजनलगायत ठूला कम्पनीले सबैभन्दा चिसो ठाउँको खोजी गर्दै अन्ततः अन्टार्कटिकामा आफ्ना डेटा सेन्टरमा स्थापना गरेका छन् । नेपालको हिमाली भेगमा विशेषतः इन्टरनेटका कन्टेन्ट भण्डारण गर्ने गरी डेटा सेन्टर स्थापना र सञ्चालन गर्न सकिने आचार्यको भनाइ छ । उनका अनुसार गुगलले नेपालमा आफ्नै लगानीमा जलविद्युत् उत्पादन गरेर डेटा सेन्टर सञ्चालनका लागि सोधीखोजी गरिरहेको छ ।
पछिल्लो समय इन्टरनेटको प्रयोग र अनलाइन सेवा प्रवाह बढेसँगै विश्वमा डेटा सेन्टरको व्यापार तीव्र गतिमा बढिहरको छ । डेटा भण्डारणका लागि बढीभन्दा बढी क्षमताका डेटा सेन्टर बनाउने एक किसिमको होडबाजी नै छ । छिमेकी देश भारतमा अबको ६ वर्षभित्रमा १.५ लाख करोड भारु लगानीमा करिब ५ हजार मेगावाट क्षमता पुग्ने गरी डाटा सेन्टर स्थापना गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि भारत सरकारले २०२२/२३ को बजेटमार्फत ५ मेगावाटभन्दा बढी क्षमता भएका डेटा सेन्टरलाई पूर्वाधार मान्ने घोषणा गरेको थियो । सरकारले सेन्टर स्थापनाका लागि जग्गा र त्यसलाई आवश्यक विद्युत्मा सहुलियत दिने गरेको छ ।

अर्थ वाणिज्य

नेपाली चियाले धानेको भारतको आन्तरिक बजार

- पर्वत पोर्तेल

(झापा)
वार्षिक १ अर्ब ४० करोड किलो चिया उत्पादन गर्ने भारतको आन्तरिक बजार भने नेपाली चियाले थेगेको छ । पश्चिम बंगालसहित भारतका केही राज्यमा नेपाली चिया खपत हुँदै आएको नेपाली चिया उद्यमीले जनाएका छन् ।
नेपालले बर्सेनि करिब २ करोड ३० लाख किलो चिया उत्पादन गर्ने गरेको युरोपलगायत देशमा नेपाली अर्थोडक्स चिया निर्यात गर्दै आएका उद्यमी उदय चापागाईं बताउँछन् । यसमध्ये अधिकांश चिया भारत निर्यात भइरहेको छ । ‘उत्पादनको ८० प्रतिशतभन्दा बढी चिया भारतीय बजारमै खपत हुन्छ,’ उनले भने, ‘सीटीसी र अर्थोडक्स चिया भारत निर्यात हुन्छ ।’
चालु आर्थिक वर्षको मेची भन्सार कार्यालयको १० महिनाको तथ्यांक हेर्दा पनि नेपाली चियाको माग भारतमा प्रस्टिन्छ । पूर्वी नाकाबाट साउनदेखि वैशाखसम्म करिब ३ अर्बको १ करोड ४३ लाख किलो चिया निर्यात भएको छ । यसमा २ अर्ब ८७ करोड मूल्यको १ करोड ४१ लाख किलो चिया भारत निर्यात भएको छ । बाँकी साढे २ करोडको १७ हजार ४ किलो चिया जर्मनी, ६ करोड ३० लाखको १ लाख १९ हजार किलो चिया रुस, पौने १८ लाखको करिब १५ हजार किलो चिया नामिबिया तथा साढे २ करोडको १७ हजार २ सय किलो चिया नेदरल्यान्ड निर्यात भएको छ ।
युरोपेली र अफ्रिकी देश इलाम र पाँचथरमा उत्पादित अर्थोडक्स चियाको माग धेरै छ । ‘युरोपमा अर्थोडक्स चियाको माग उच्च छ । मागअनुसार निर्यात गर्न सक्ने हो भने चियाबाटै डलर भित्र्याउन गाह्रो छैन,’ इलामका चिया उद्यमी बुद्ध तामाङ भन्छन् ।
भारतले उत्पादनको ७० प्रतिशत चिया निर्यात गर्छ । नेपालबाट आयातित चियाले आन्तरिक बजार धान्दै आएको एक भारतीय चिया उद्यमीले जनाए । पश्चिम बंगाल, असम, सिक्किम, नागाल्यान्ड, हिमाचल, त्रिपुरा, अरुणाञ्चल जस्ता पूर्वोत्तरका राज्यमा धेरैजसो चिया उत्पादन हुन्छ । ‘१० भन्दा बढी राज्यमा चिया उत्पादन भए पनि आन्तरिक बजारलाई नेपाली चियाले नै धान्ने गरेको छ’, ती व्यापारीले कान्तिपुरसँग भने ।
पछिल्लो समय जलवायु परिवर्तन, श्रम समस्या, कम उत्पादकत्व र नाफाका कारण उत्पादनमा परेको असरले चियाको उत्पादनमा गिरावट आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा उत्पादन घट्नेबित्तिकै नेपाली चियाको माग दोब्बर बढ्छ,’ भद्रपुरका चिया उद्यमी आदित्य पराजुलीले भने, ‘दुई वर्षअघि कोभिडका कारण उत्पादन घट्दा नेपाली चियाको थप माग भएको थियो ।’ सबैभन्दा ठूलो आयातकर्ता जर्मनी मन्दीबाट गुज्रिरहेका बेला युरोपमा दार्जिलिङ चियाको माग करिब १५ प्रतिशतले गिरावट आएको इन्डियन टी एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष अंशुमान कनोरिया जनाए । रुस–युक्रेन द्वन्द्वका कारण प्रतिष्ठित दार्जिलिङ चियाको माग युरोपमा घटेको उनको भनाइ छ । ‘युरोपमा गत वर्षको तुलनामा १५ प्रतिशत कम माग भइरहेको छ,’ उनले भने ।
पछिल्लो समय जापानमा पनि भारतीय चियाको निर्यात घटेको छ । दार्जिलिङ चिया वार्षिक उत्पादनको झन्डै आधा युरोपलगायत तेस्रो देश निर्यात हुन्छ । गत वर्ष ३० लाख किलोभन्दा बढी चिया निर्यात भएको इन्डियन टी एक्सपोर्टर्स एसोसिएसनले जनाएको छ । दार्जिलिङ चियाको उत्पादनमा पछिल्लो समय क्रमिक गिरावट भइरहेको एसोसिएसनको भनाइ छ । सन् २०११ मा करिब एक करोड किलो उत्पादन भएको दार्जिलिङमा सन् २०१६ मा करिब साढे ८० लाख किलो मात्रै उत्पादन भएको थियो ।
सन् २०१७ भएको गोर्खाल्यान्ड आन्दोलनको प्रभाव सबभन्दा बढी चिया क्षेत्रमा परेको एसोसिएसनका अध्यक्ष कनोरियाले बताए । दार्जिलिङको चियालाई विश्वबजारमा प्रवर्द्धन गर्न सरकारबाट कुनै पहल नभएको उनको आरोप छ । दार्जिलिङमा मात्रै ७० भन्दा बढी चिया बगान छन् ।

अर्थ वाणिज्य

नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

- कान्तिपुर संवाददाता

(काठमाडौं)
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे ।
‘सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ । लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ प्रधानमन्त्री दाहालले भने । उक्त अवसरमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा मात्र सीमित नरहेको बताए । ‘हामीसँग गहिरो सांस्कृतिक आत्मीयता र बलियो मित्रता छ,’ उनले भने, ‘यो साझेदारी र मित्रता मात्रै होइन, यो एक परिवार हो । हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं ।’ लगानीमैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासले अहिले नेपालमा लगानी गर्न उपयुक्त समय रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । नेपालमा रहेका भारतीय कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त दिँदै ढकालले ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जनाए ।
महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकताअनुसार सहजीकरण गर्ने उनको भनाइ छ । भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासका लागि एकअर्काको बजारहरूका अवसर छोप्नसमेत उद्योगी व्यवसायीहरूलाई भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले आग्रह गरे । अरुण तेस्रो जस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज छ भन्ने स्पष्ट सन्देश दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जनाए ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


रोयल इन्फिल्डको नयाँ मोटरसाइकल
काठमाडौं (कास)– रोयल इन्फिल्डले नेपाली बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले स्क्रायाम–४११ सार्वजनिक गरेको हो । यसको नेपाली मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले क्लासिक ३५० लाई नयाँ मूल्य र भर्सनमा सार्वजनिक गरेको छ । यसको मूल्य ४ लाख ९९ हजार तोकिएको छ । दुवै मोटरसाइकलको बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ । मोटरसाइकल सार्वजनिकअघि कम्पनीले शुक्रबार नक्सालदेखि नगरकोटसम्म ‘रोयल इन्फिल्ड राइड’ गराएको थियो । रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणासमेत गरेको छ । मध्यम आकारको (२५० सीसी–७५० सीसी) मोटरसाइकलमा इन्फिल्डले वीरगन्जमा एसेम्बली युनिट स्थापना गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ भर्सनको द क्लासिक ३५० छ रङमा उपलब्ध छ ।

बजारमा रेडमी नोट १२
काठमाडौं (कास)– साओमीले रेडमी नोट १२ (फाइभजी) नेपाली बजारमा सार्वजनिक गरेको छ । उचित मूल्यमा नवीनतम प्रविधिसहितको यो फोन बजारमा आएको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पन्डाले बताए । एमोलेड डिस्प्लेयुक्त यस फोनले १२० हर्ज रिफ्रेस दर प्रदान गर्ने कम्पनीले जनाएको छ । डबल सिमकार्ड चल्ने फोनमा ८ जीबी र्‍याम र २५६ जीबी भण्डारण छ । ३३ वाट फास्ट चार्जिङमा उपलब्ध फोन लामो समयसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । यसमा ५ हजार एमएएचको ब्याट्री उपलब्ध छ । तीन वटा क्यामेरा फोनमा छ । ओनक्स ग्रे, फरेस्ट ग्रीन र आइसब्लु रङमा उपलब्ध फोन ६ र १२८ जीबीको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ तथा ८ र २५६ जीबीको ३१ हजार ९९९ रुपैयाँ छ ।

रियलमीको नार्जो एन ५५ र एन ५३
काठमाडौं (कास)– रियलमीले नेपाली बजारमा नयाँ दुई स्मार्टफोन नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । नार्जो एन ५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभलको फोन रहेको रियलमीका कन्ट्री हेड मुनीष गिरीको दाबी छ । नार्जो एन ५३ मा ७.४९ इन्चको अल्ट्रा स्लिम बडी छ । र्‍याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको कम्पनीको भनाइ छ । यसमा डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडी प्लस रेजोलुसन रहेको कम्पनीले जनाएको छ । ‘३३ वाटको सुपर भोक चार्जिङसहित आउने यो फोन सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुनेमा पर्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फोन फुल चार्ज हुन ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ ।’ ४ प्लस ६४ जीबी स्टोरेज क्षमताको नार्जो ५३ मोडलको मूल्य १५ हजार ९९९ र ६ प्लस १२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ४ प्लस ६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य २० हजार ४९९ र ६ प्लस १२८ भेरियन्टको मूल्य २४ हजार ४९९ रुपैयाँ तोकिएको बताइएको छ ।

घोराही सिमेन्टको क्षमता विस्तार
काठमाडौं (कास)– घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो क्षमता विस्तार गरेको छ । उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १ हजार ९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २ हजार २ सय टन रहेकामा हाल क्षमता विस्तार गर्दै दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको छ । कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर पनि जारी गर्दै छ । वैशाख १९ देखि जेठ २ सम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर बिक्री खुलाएको थियो । त्रिवेणी समूहबाट प्रवर्द्धित कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्दै छ ।

Page 7
समाचार

नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान : एमाले

- कान्तिपुर संवाददाता

(काठमाढौं)
राष्ट्रपति रामचन्द्र पौडेलले पुरानो नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसद्को अपमान भएको एमालेले निष्कर्ष निकालेको छ । एमाले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा मन्त्रिपरिषद् तथा राष्ट्रपतिको भूमिका नेपालको संविधान, प्रचलित कानुन र स्थापित संसदीय मान्यताविपरीत भएको जनाइएको छ ।
‘प्रतिनिधिसभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक सिफारिस गर्नु र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को अपमान हो,’ प्रचार विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयको वक्तव्य नेपालको संविधान, प्रचलित कानुन र स्थापित संसदीय मान्यताविपरीत रहेको स्पष्ट छ ।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए । ‘हाम्रो पार्टी विधेयक प्रमाणीकरणमा क्रममा गरिएको संविधानको ठाडो उल्लंघन र संसद्को विशेषाधिकारको हननको कदमको सशक्त विरोध गर्दछ,’ एमालेले भनेको छ । प्रधानमन्त्रीको विदेश भ्रमणको केही घण्टाअघि गरिएको प्रमाणीकरणले नागरिकता नेपालको आन्तरिक मामिला होइन बाह्य चासोको विषय हो भन्ने गलत नजिर स्थापित गरेको एमालेको जिकिर छ । दाहालको भारत भ्रमणअघि राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका थिए ।
त्यसैगरी, टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई आममाफी दिने निर्णयप्रति पनि एमालेले आपत्ति जनाएको छ । सरकारको कदमले दण्डहीनता संस्थागत गर्ने, सुरक्षाकर्मीको मनोबल गिराउने र घटनामा मारिएका प्रहरी तथा सर्वसाधारणको पीडामा नुनचुक छर्किने काम गरेको जनाएको छ । सरकारको सिफारिसमा गणतन्त्र दिवसका दिन राष्ट्रपति पौडेलले चौधरीको बाँकी कैद सजाय मिनाहा गरेका थिए । हालै सार्वजनिक बजेटले आर्थिक संकटलाई समाधान दिन नसक्ने पनि एमालेको निष्कर्ष छ । त्यसैगरी, जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गत ल्याउने सरकारको तयारी सच्याउन उसले माग गरेको छ ।

एमालेमा जिम्मेवारी हेरफेर
एमालेले पार्टी जिम्मेवारीमा हेरफेर गरेको छ । शुक्रबारको सचिवालय बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गर्दै भूगोलमा केन्द्रीय जिम्मेवारी तोकेको छ । २०७८ मंसिरमा भएको दसौं महाधिवेशनपछि तोकिएको जिम्मेवारीलाई पहिलो पटक व्यापक हेरफेर गरिएको हो ।
३३ वटा विभागलाई सात वर्गमा विभाजन गरेर त्यसको संयोजन गर्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई दिइएको छ । त्यसैगरी सचिवहरूलाई प्रदेशको इन्चार्ज तोकिएको छ । योजना तथा नीतिसम्बन्धी विभागको समन्वय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकाससँग जोडिएको विभागमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले संयोजन गर्नेछन् । कृषि तथा उद्यमशीलतासम्बन्धी विभागमा रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी विभागमा अष्टलक्ष्मी शाक्य, मानवस्रोतसम्बन्धी विभागमा युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागमा विष्णु पौडेललाई संयोजक तोकिएको छ । त्यसैगरी, संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारी र प्रचार प्रमुखमा राजेन्द्र गौतमलाई तोकिएको छ । पृथ्वीसुब्बा गुरुङलाई संसदीय विभाग प्रमुख बनाइएको छ ।
सचिवहरूलाई प्रदेश, पोलिटब्युरो सदस्यलाई जिल्ला र केन्द्रीय सदस्यलाई पालिका तोकेर जिम्मेवारी बाँडफाँट गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । रघुवीर महासेठलाई कोशी प्रदेश र योगेश भट्टराईलाई मधेश इन्चार्जको जिम्मेवारी दिइएको छ । वाग्मतीमा तोक्न बाँकी छ भने गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिम इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको छ । यस्तै, १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको ज्ञवालीले जानकारी दिए ।

समाचार

जिल्ला अस्पतालमै छैन औषधि

- मनोज पौडेल

(कपिलवस्तु)
ज्वरोले सिकिस्त कपिलवस्तु नगरपालिका–१२ बिठुवाका चैतु यादव उपचारार्थ सदरमुकाम तौलिहवामा रहेको जिल्ला अस्पतालमा आए । चिकित्सकले सिटामोलसहित एन्टिबायोटिक एमोक्सिलिन लेखिदिए । तर, उनले अस्पताल डिस्पेन्सरीमा ती औषधि पाएनन् । ‘सरकारी अस्पतालमा औषधि थिएन,’ यादवले भने, ‘बाहिरै किन्नुपर्‍यो ।’ पखाला लागेर अस्पताल आएकी कपिलवस्तु नगरको मलापाराकी अमिरुन निशाले जीवनजल पाउन सकिनन् । ‘सरकारले निःशुल्क औषधि उपलब्ध छ भन्छ,’ उनले भनिन्, ‘अस्पताल छैन भन्छ ।’
सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने योजना अघि सारे पनि यहाँको अस्पतालमा आधारभूत औषधि नै अभाव छ । तीन महिनादेखि सिटामोलसमेत पाउन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालका अनुसार बुटवलको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले औषधि पठाएको छैन । कहिलेकाहीं जिल्ला स्वास्थ्य कार्यालयले
वितरण गर्दै आएको औषधि पनि दिन छाडेकाले बिरामीले रित्तो हात फर्कनु परिरहेको हो ।
‘२०७८ फागुन २ मा उक्त केन्द्रबाट १८ हजार ट्याब्लेट सिटामोल आएको थियो । त्यसयता आएको छैन,’ अस्पतालका स्टोर शाखा प्रमुख योगेन्द्र चौधरीले भने, ‘अहिले औषधि अभाव छ ।’ तीन महिनायता सिटामोल पनि आपूर्ति छैन । अहिले भाइरल ज्वरोका बिरामी बढेका छन् । सामान्य ज्वरो आएका, रुघाखोकी र कहिलेकाहीं दुखाइमा पनि सिटामोल प्रयोग गरिन्छ । सिटामोल अहिले सय जना बिरामीमा झन्डै ३० प्रतिशतलाई दिनुपर्ने अवस्था छ । जीवनजलको पनि एक सातायता अभाव छ । अस्पतालको डिस्पेन्सरीबाट औषधि वितरण बन्द छ । ‘इमर्जेन्सी वार्डमा उपचारार्थ आउनेका लागि ५ सय ट्याब्लेट सिटामोल र २ सय थान जीवनजल मौज्दात छ,’ उनले भने । गर्मीको महिना छ । झाडापखालाका बिरामी बढ्दै छन् । तर, जीवनजल पनि बाहिर खरिद गर्न पठाउँदा दुःख लागिरहेको उनले बताए । अति आधारभूत औषधिको यो अवस्था छ भने अन्यको पनि त्योभन्दा कम छैन ।
औषधि सकिएको जानकारी दिएर पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र बुटवल र प्रदेश मन्त्रालयले चासो नदिएको अस्पताल व्यवस्थापक रत्नाकर शुक्लाले बताए । ‘हामी प्रदेश मन्त्रालय मातहत हौं,’ उनले भने, ‘तर, प्रदेश भन्छ अब स्थानीय तहसँग समन्वय गरेर ल्याऊ ।’ यता स्थानीय तह अस्पताल प्रदेश मातहत भएकाले उसैको जिम्मेवारी भएको भन्दै पन्छिने गरेको उनले बताए । यसअघि प्रदेशबाटै औषधि आउँदै गरेको थियो । एकै पटक रोकिँदा अहिले निकै समस्या भइरहेको छ । गरिब विपन्न उपचारबाटै वञ्चित हुनुपर्ने अवस्थामा पुगेको उनले बताए ।
अस्पतालमा ब्रुफेन, आइरन, एसिलक, बुस्कोपाम र एजिथ्रोमाइसिन औषधिको पनि अभाव छ । त्यस्तै मेट्रो, फुल्कोनाजोल, भिटामिन ‘ए’ र नाभी मल्हमको अभाव देखिएको छ । २ सय ५० र ५ सय एमजीको एमोक्सोसिलिन र सिफ्रोफ्लक्सिन तथा २ सय र ४ सय एमजीको सिफेक्सिन एन्टिबायोटिक औषधिको पनि मौज्दात सकिएको छ ।
‘अस्पतालसँग औषधिका लागि बजेट छैन,’ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सहजाद मोहम्मद खाँले भने, ‘अहिले उपचारका लागि आउने बिरामीलाई गाह्रो भइरहेको छ ।’ यसले अस्पतालप्रति नकारात्मक सन्देश गइरहेकाले सबै मिलेर निकास दिनुपर्ने उनले बताए । अस्पतालमा दैनिक ३ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । यसले जनआक्रोश बढ्दै गएर आन्दोलनको स्वरूप लिन थालेको नागरिक अगुवा गोपीकृष्ण शर्माले बताए ।

 

Page 8
खेलकुद

'थ्रिलिङ क्लाइमेक्स’ तिर लिग

- हिमेश

(काठमाडौं)
नउपाधि जित्नेको निश्चित, न त रेलिगेसनमा पर्ने टिमको टुंगो । अझ न कसैले उपाधि जित्ने हामी नै हो भन्न सकेका छन् । न धेरैले अब आफू रेलिगेसनमा पर्दिनँ भनेर ठोकुवा गर्न सकेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सबैभन्दा ठूलो विशेषता भन्नु नै यही त हो ।
लिग अब अन्त्यको संघारमा आइपुगेको छ । लिगको २३ औं चरणका खेल सकिएका छन् । अब तीनै चरणका खेलमात्र बाँकी छन् । यिनै तीन चरणले लिगले अन्त्यमा कस्तो स्वरूप लिने हो तय गर्नेछ । यी तीन चरणमा कस्ले कस्कोविरुद्ध खेल्ने हो, त्यो त निश्चित छ । तर कहिले र कहाँ खेल्ने हो, त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । सम्भवतः अन्तिम चरणको खेल एकैपल्ट एकै समय कम्तीमा तीन वा बढीमा चार स्थानसम्म पनि हुन सक्नेछ । यहाँसम्म पुग्नेको बाटो कस्तो रह्यो त ? फर्केर अहिलेसम्म भएको लिगको २३ चरण खेलको छोटकरी विश्लेषण ः

१. जावलाखेलको सुरुआती अग्रता
जावलाखेलले पहिलो चरणमै देखाएको थियो, यो क्लबले यसपल्टको लिगमा केही गर्नेछ । टोलीले दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रमाथि सानदार ३–१ को जित निकालेको थियो । ‘ए’ डिभिजनमा डेब्यु गरेका दुवै टिम चर्च ब्वाइज र खुमलटारले पनि आ–आफ्नो पहिलो खेल जिते । एपीएफको सुरुआत राम्रै रह्यो । टोलीले थ्रीस्टारलाई २–० ले पन्छाएको थियो । यही खेलबाट प्रस्ट भइसकेको थियो, थ्रीस्टारलाई यो लिगमा सजिलो हुने छैन ।

२. चर्च ब्वाइज पहिलोपल्ट अगाडि
दोस्रो चरण आइपुग्दा चर्च ब्वाइजले पहिलोपल्ट शीर्षस्थान ओगटेको थियो । लगातार दोस्रो जित निकाल्ने क्रममा उसले खुमलटारलाई ३–१ ले हराएको थियो । जावलाखेलले पनि लगातार दोस्रो जित निकाल्न त सफल रह्यो, तर गोलअन्तरले चर्च ब्वाइजको पछाडि रह्यो । लगातार दोस्रो जित निकाल्नेमा सातदोबाटो रह्यो । मछिन्द्र भने लगातार दोस्रो खेलमा पराजित रह्यो । अविश्वसनीय रूपमा सबैभन्दा पुछारमा रह्यो ।

३. पुलिसको लगातार तेस्रो हार
गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । यसैक्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो । लगातार तेस्रो हार बेहोर्न बाध्य रह्यो । सकंटाले सजिलै पुलिसलाई ३–० ले हराएको थियो । कम्तीमा मछिन्द्रले पनि तेस्रो खेलमा आइपुग्दा एक अंक बटुल्यो, मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोकेर । चर्च ब्वाइज र सातदोबाटोले उत्कृष्ट सुरुआत लिएर लगातार तेस्रो खेल जित्यो ।

४. मनाङको सानदार जित
कसलाई मात्र विश्वास थियो र मनाङ लिगका बाँकी खेलमा गाह्रो हुनेछ भनेर । सुरुतिर त मनाङको लय लिग जित्ने खालकै थियो । चौथो चरणमा सबैभन्दा मीठो जित मनाङकै नाममा
रह्यो । टोलीले एनआरटीलाई ३–१ ले हराएको थियो । चर्च ब्वाइज भने अझै अगाडि रह्यो, तर संकटाले टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । मछिन्द्रले लिगको पहिलो जित यही चरणमा आएर आत्मसात् गरेको हो, पुलिसलाई २–१ ले पराजित गरेर ।

५. सातदोबाटो शीर्षस्थानमा
लगातार तीन चरण शीर्षमा रहेपछि झर्ने पालो चर्च ब्वाइजको थियो । लगातार गोलरहित दुई बराबरीले टोलीलाई तेस्रो स्थानमा झारेको थियो । यही क्रममा पहिलोपल्ट सिद्ध भएको थियो, यसपालि लिगको शीर्षमा कायम रहन गाह्रो हुनेछ । पाँचौं चरणको अन्त्यमा शीर्षस्थानमा उक्लने टिम थियो सातदोबाटो । आफ्नो चौथो जित निकाल्ने क्रममा सातदोबाटोले खुमलटारलाई २–१ ले हराएको थियो । मनाङ पनि दोस्रो स्थानमा उक्लन सफल रह्यो । अपराजित मनाङले एपीएफलाई २–१ ले हराएको थियो ।

६. मनाङको पहिलो स्थानमा छलाङ
सातदोबाटो एकै चरणमात्र शीर्षमा टिक्यो, तर जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । जावलाखेल यही जितसँगै दोस्रोमा उक्लन सफल रह्यो । यसबीच मनाङले भने पहिलोपल्ट शीर्षस्थानमा छलाङ मारेको थियो । टोलीले फ्रेन्ड्सलाई सजिलै २–० ले हराएको थियो । यो यस्तो जित रह्यो, जसले चेतावनीको भाषामा भनिरहेको थियो सायद फेरि एकपल्ट लिग उपाधि जित्ने भनेको मनाङले नै हो । यसले फेरि एकपल्ट नयाँ इतिहास बनाउने छ ।

७. मनाङको अग्रता कायम
मनाङ फेरि एकपल्ट शीर्षमै रह्यो, सातौं चरण समाप्तिमा । मनाङले अपराजित रहनेक्रममा थ्रीस्टारसँग रोमाञ्चक १–१ को बराबरी खेल्यो । लिगकै एक उत्कृष्ट खेलमा पर्छ यो । यसमा सन्तोष साहुखलले गरेको गोल आफैंमा दर्शनीय थियो । पुलिस यही चरणमा आइपुगेर पहिलो जित निकाल्न सफल रह्यो फ्रेन्ड्सलाई ३–१ ले हराएर । पुलिसले यस अघिका ६ खेलमा एकै अंकमात्र बटुलेको थियो । यो जितका बावजुत पनि पुलिस पुछारमै रह्यो ।

८. सातदोबाटो दोस्रोपल्ट अगाडि
आठौं चरण आइपुग्दा सातदोबाटो दोस्रोपल्ट शीर्षस्थानमा उक्लन सफल रह्यो । तर, यो अन्तिमपल्ट थियो । फेरि दोहोर्‍याएर पहिलो स्थानमा उक्लिन सकेन । यस चरणमा सातदोबाटोले अरू कसैलाई होइन मनाङलाई १–० ले हराएको थियो । त्यसमा दीपकराज सिंह ठकुरीको निर्णायक गोल गरे । हारले मनाङ दोस्रो स्थानमा झर्यो । यही चरणमा दुई ठूलो स्कोरका गोल भए, मछिन्द्रले खुमलटारलाई ७–३ र हिमालयनले एपीएफलाई ५–३ ले हराएका थिए । मछिन्द्रका लागि ओलावाले आफिजले ह्याट्रिक गरे । यो चरणमा सर्वाधिक २९ गोल भए ।

९. मनाङको ॅडाउनफल’ सुरु
लिगको नवौं चरणदेखि मनाङसँग यस्तो खराब प्रदर्शनको नतिजा जोडिन्छ, जसलाई क्लब इतिहासकै सबैभन्दा ठूलो ‘डाउनफल’ मान्न सकिन्छ । मनाङलाई जावलाखेलले ३–० ले हराएको थियो । यो मनाङमाथि जावलाखेलको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित थियो । यो जित कति धेरै महत्त्वपूर्ण रह्यो भने जावलाखेल फेरि एकपल्ट शीर्षस्थानमा उक्लन सफल रह्यो । यही चरणमा फ्रेन्ड्सले पनि एक अर्को सम्झनालायक जित निकालेको थियो हिमालयनलाई ६–० ले हराएर ।

१०. पुलिसमाथि जावालखेलको ६ गोल
फेरि एकपल्ट शीर्षस्थानमा उक्लेर जावलाखेल कति धेरै उत्साहित भएको थियो भने दसौं चरणमा उसले पुलिसमाथि ६–१ को जित निकालेको थियो । यो जावलाखेलको एक अर्को सानदार प्रदर्शन थियो । लिगमा पुलिस यो खेलमा जत्तिको निरीह कहिले पनि देखिएको थिएन । मनाङ लगातार तेस्रो खेलमा पराजित रह्यो । चर्च ब्वाइज भने सातदोबाटोलाई २–१ ले हराएर दोस्रो स्थानमा उक्लियो । सातदोबाटो आफैं चौथो स्थानमा झरेको थियो ।

११. थ्रीस्टार दोस्रो स्थानमा
लिगको ११ चरण समाप्तिमा अंकतालिका हेर्नुपर्छ अविश्वसनीय स्थिति देखा पर्छ । त्यो हो, थ्रीस्टार दोस्रो स्थानमा उक्लिनु । थ्रीस्टारले यो चरणमा संकटामाथि आत्मविश्वासले भरिएको ३–० ले हराएको थियो । मनाङ भने लगातार चौथो खेलमा पराजित
रह्यो । टिमको खराब प्रदर्शर्न कायम रह्यो । यो चरणको सबैभन्दा महत्त्वपूर्ण जित जावलाखेलकै नाममा रह्यो, टोलीले चर्च ब्वाइजलाई १–० ले हराएको थियो । यो यस्तो जित हो, जुन ‘हेड टु हेड’ का आधारमा पछि काम लाग्न सक्ने खालको थियो ।

१२. चर्च ब्वाइजको खराब प्रदर्शन
लिगको १२ औं चरणमा चर्च ब्वाइज भने आर्मीसँग पराजित रह्यो । टिम पाँचौं स्थानमा झरेको थियो । थ्रीस्टार भने दोस्रो स्थानमै कायम रह्यो । टोलीले मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । यो चरणको सबैभन्दा प्रभावशाली जित सातदोबाटोको नाममा रह्यो । टोलीले संकटालाई ४–० ले हराएको थियो । यो जितपछि सातदोबाटो तेस्रो स्थानमा उक्लन पनि सफल रह्यो । मनाङ अविश्वसनीय रूपमा लगातार पाँचौं खेलमा पराजित रह्यो । मनाङलाई पुलिसले १–० ले हराएको थियो ।

१३. जावलाखेल बन्यो ॅविन्टर च्याम्पियन’
लिगले ठ्याक्कै मध्यभाग छुँदा शीर्षमा रहेको टिम रह्यो, जावलाखेल । जावलाखेल छैटों साता शीर्षस्थानमा कायम रहेको थियो । यसक्रममा नेपाली घरेलु फुटबलकै समृद्ध इतिहास भएको टिम ‘विन्टर च्याम्पियन’ बन्यो । विशेषतः युरोपतिर लिगको मध्यभागमा शीर्षस्थानमा रहेको टिमलाई ‘विन्टर च्याम्पियन’ भन्ने गरिन्छ । मनाङ लगातार छैटौं खेलमा पराजित रह्यो । यसपल्ट टोलीलाई चर्च ब्वाइजले सजिलै ३–० ले हराएको थियो । यससँगै मनाङका प्रशिक्षक किरण श्रेष्ठले आफ्नो पद छाडेका थिए ।

१४. पुलिसको लगातार तेस्रो जित
पुलिसको सबैभन्दा राम्रो प्रदर्शन १४ औं चरणमा आइपुग्दा देखियो, जतिबेला टोलीले लगातार तेस्रो खेल जितेको थियो । जितको ह्याट्रिक बनाउनेक्रममा पुलिसको सिकार बन्यो, जावलाखेल । पुलिसको २–१ को जितमा दुवै गोल विदेशी खेलाडीको नाममा रह्यो । यो जितले देखाएको थियो, विदेशी खेलाडी आएयता पुलिसको प्रदर्शन वास्तवमै सुध्रिएको छ । हारका बावजुत जावलाखेल शीर्षमा रहनेक्रम जारी रह्यो ।

१५. विनोङको सानदार ह्याट्रिक
लिगको १५ औं चरणमा खुमलटारले पहिलो स्थानमा रहेको जावलाखेललाई मज्जाले ४–२ ले हरायो र यसमा स्टेफन विनोङले सानदार ह्याट्रिक पनि रचे । अर्को खेलमा चर्च ब्वाइजले एनआरटीलाई समान ४–१ कै अन्तरले हरायो र फेरि एकपल्ट शीर्ष स्थानमा उक्लिन सफल रह्यो । मछिन्द्रले पनि यो चरणमा एपीएफलाई २–१ ले हराएको थियो । टोली पहिलोपल्ट शीर्ष चारमा उक्लिन सफल रह्यो । यो मछिन्द्रको लगातार दोस्रो जित थियो ।

१६. आर्मीमाथि एपीएफ हाबी
यसपल्टको लिगमा धेरैलाई कुनै एक टिमले निरास पारेको छ भने त्यो आर्मी थियो । एक त टोलीले विदेशी खेलाडी अनुबन्ध नगर्ने जिद्दी गरिरहेकै थियो, टिमकै भएका खेलाडीको प्रदर्शन पनि असाध्यै कमजोर रह्यो । लिगको १६ औं चरणमा आर्मीको ‘लाचारी’ खुबै राम्रोसँग देखिएको थियो, जतिबेला टोलीलाई एपीएफले नमज्जासँग ३–० ले हराएको थियो । यो चरणको एक अर्को महत्त्वपूर्ण खेलमा चर्च ब्वाइजले मछिन्द्रलाई १–० ले हराएको थियो । दुर्भाग्यले निर्णायक गोल अमृत श्रेष्ठको नाममा आत्मघाती रह्यो ।
१७. जावलाखेल र चर्च ब्वाइजको बराबरी अंक
लिगको १७ चरण समाप्तिमा जावलाखेल र चर्च ब्वाइज शीर्ष दुईमा रहे । संयोग कस्तो भने दुवै टिम समान ३० अंकमा रहे । यो चरणमा जावलाखेलले फ्रेन्ड्समाथि ४–१ को प्रभावशाली जित निकालेको थियो । तर, यसपछिका खेलमा जावलाखेलले आफ्नो यस्तै प्रदर्शन कायम राख्न सकेन । कसलाई थाहा थियो र, यसपछिका ५ खेलमा जावलाखेलले एकै अंकमात्र बटुल्ने छ भनेर । लगातारको ४ वराबरीले सम्भवतः जावलाखेलको पहिलोपल्ट लिग उपाधि जित्ने सपना तुहाएको थियो ।

१८. जावलाखेलले गुमायो शीर्षस्थान
जावलाखेल सात चरण शीर्षमा रह्यो । अन्ततः १८ औं चरण आइपुग्दा दोस्रो स्थानमा झर्‍यो । टोलीको स्थान लिएको थियो चर्च ब्वाइजले । यो चरणमा जावलाखेलले मनाङसँग २–२ को रोमाञ्चक बराबरी खेलेको थियो । जावलाखेलले दुई गोलको अग्रता लिए पनि त्यो कायम राख्न सकेन । यो नतिजापछि न त जावलाखेलले नै शीर्ष स्थान कायम राख्न सक्यो । अर्को खेलमा चर्च ब्वाइजले सातदोबाटोलाई हराएको थियो, १–० ले ।

१९. चर्च ब्वाइजलाई चार अंकको अग्रता
जावलाखेल र मछिन्द्रले बराबरी खेलेपछि शीर्षमा रहेको चर्च ब्वाइजलाई निकै ठूलो गणितीय लाभ प्राप्त भएको थियो । टोलीले पुलिसलाई १–० ले हराएको थियो र यससँगै पहिलो स्थानमा पहिलोपल्ट चार अंकको अग्रता लिएको थियो । शीर्षमा ४ अंकको यो अग्रता पूरा लिगमै सबैभन्दा ठूलो थियो । यो यस्तो अन्तर थियो, जसमा टिकेर चर्च ब्वाइजले निर्णायक फड्को मार्नसक्ने थियो, तर यस्तो भएन । शीर्षमा टिक्नै गाह्रो विशेषताको सिकार बन्ने क्रममा थियो चर्च ब्वाइज ।

२०. मछिन्द्र दोस्रो स्थानमा
दुईपल्टको डिफेन्डिङ च्याम्पिनय भएता पनि मछिन्द्रको सुरुआत राम्रो रहेन । सुरुआती दुई चरणसम्म त मछिन्द्र अन्तिम स्थानमा थियो । तेस्रो चरण सकिँदा पनि रेलिगेसन क्षेत्रमै थियो । २० औं चरण मछिन्द्रका लागि सुखद रह्यो र यसपल्ट सबैभन्दा उच्च दोस्रो स्थानमा पुग्यो । यसका लागि मछिन्द्रले एनआरटीलाई २–० ले हराएको थियो । संयोग कस्तो भने दोस्रो स्थान उक्लन मछिन्द्रले पछाडि धकेलेको थियो, यसका प्रमुख प्रशिक्षक किशोर केसीको प्रिय टिम जावलाखेल ।

२१. बराबरीको नीरस चरण
लिगको २१ औं चरण धेरै हदसम्म नीरस रह्यो । गोलको आँकडाले पनि यो देखाउँछ । यो चरणमा ११ गोलमात्र भए, पूरा लिगकै सबैभन्दा कम गोल । मछिन्द्र र जावलाखेलबीचको खेल जुन सनसनी उत्पन्न गराउनुपर्ने थियो । त्यो भएन । खेल गोलरहित बराबरीमै टुंगियो । चर्च ब्वाइजले पनि मनाङसँग गोलरहित बराबरी नै खेल्यो । चर्च ब्वाइजलाई प्रत्येकपल्ट अवसर आइरहेको थियो, शीर्षमा छलाङ मार्ने, तर टोलीले त्यसलाई आत्मसात् गर्न सकिरहेको थिएन ।

२२. चर्च ब्वाइजमाथि संकटाको जित
यसपल्टको लिगको सबैभन्दा उत्कृष्ट खेलमध्ये एक त्यो रह्यो, जसमा संकटाले चर्च ब्वाइजलाई १–० ले हरायो । दशरथ रंगशालामा भएको यो खेल वर्षाबीच चलेको थियो र संकटाका युसुफ इद्रिसले ६९ औं मिनेटमा गरेको गोल आफैंमा अत्यधिक सुन्दर थियो । अझ यसपल्टको लिगकै सबैभन्दा उत्कृष्ट । संकटाको पोस्ट नजिकबाट बुनिएको यो आक्रमण केही सेकेन्डको अन्तरमा चर्च ब्वाइजको पोस्टभित्र पुगेर टुंगिएको थियो । प्रशिक्षकमा विष्णु गुरुङ आएयता मनाङ मर्स्याङ्दीले थ्री स्टारविरुद्ध पहिलो जित निकाल्यो ।

२३. तीनै शीर्ष टिमको जित
शीर्षस्थानका तीन टिमले यसअघि जसरी जितका लागि संघर्ष गरेको थियो । यो कथा २३ औं चरणमा आएर फेरियो । चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल तीनै टिम यो चरणमा विजयी रहे । चर्चा ब्वाइजले एपीएफमाथि ४–१ को फराकिलो जित निकालेको थियो । तर यो भन्दा अझ मीठो जित मछिन्द्रको रह्यो, जतिबेला टोलीले सातदोबाटोलाई ३–१ ले हरायो । त्यसमा ओलावाले आफिजले ह्याट्रिक गरे । अनि मनाङ लगातार दोस्रो जित निकाल्ने पाँचौं स्थानमा उक्लन सफल रह्यो ।

खेलकुद

अबका तीन चरणका खेल

२४ औं चरण
आर्मीविरुद्ध सातदोबाटो
थ्री स्टारविरुद्ध एपीएफ
चर्च ब्वाइजविरुद्ध जावलाखेल
खुमलटारविरुद्ध संकटा
एनआरटीविरुद्ध हिमालयन
पुलिसविरुद्ध मछिन्द्र
फ्रेन्ड्सविरुद्ध मनाङ

२५ औं चरण
खुमलटारविरुद्ध एपीएफ
आर्मीविरुद्ध पुलिस
चर्च ब्वाइजविरुद्ध थ्रीस्टार
सातदोबाटोविरुद्ध जावलाखेल
मनाङविरुद्ध एनआरटी
हिमालयनविरुद्ध मछिन्द्र
संकटाविरुद्ध फ्रेन्ड्स

२६ औं चरण
खुमलटारविरुद्ध चर्च ब्वाइज
पुलिसविरुद्ध सातदोबाटो
एपीएफविरुद्ध फ्रेन्ड्स
आर्मीविरुद्ध हिमालयन
संकटाविरुद्ध एनआरटी
मछिन्द्रविरुद्ध मनाङ
जावलाखेलविरुद्ध थ्रीस्टार

खेलकुद

सिटीसामु युनाइटेड बन्ला तगारो ?

- कान्तिपुर संवाददाता

एएफपी (लन्डन)
म्यानचेस्टर सिटीले १२ वर्ष अगाडि वेम्बलीमा तीन उपाधिलाई पछ्याइरहेको म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । यो यस्तो खेल थियो, जसले इंग्लिस फुटबलको शक्ति स्थानान्तरण भइरहेको संकेत गरिरहेको थियो । अहिले सिटी आफैं तीन उपाधि पछ्याइरहेको छ । युनाइटेडसामु मौका छ त्यसलाई रोक्ने ।
म्यानचेस्टरका दुई क्लब शनिबार एफए कपको फाइनलमा भिड्दै छन् । सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब दुई जितसँगै सिटीले सन् १९९९ मा युनाइटेडले हात पारेको दुर्लभ उपलब्धिको बराबरी गर्न सक्छ । त्यो सिजन युनाइटेडले घरेलु लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेको थियो । सिटीसामु युनाइटेडपछि यस्तो उपलब्धि हात पार्ने दोस्रो टिम हुने अवसर छ । सिटी अहिले जुन शक्तिसहितको टिम छ, त्यसअगाडि युनाइटेड फिक्का देखिन सक्छ । सन् २०११ को एफए कप सेमिफाइनलमा यिनै दुई टिम भिड्दा यस्तो शक्ति समीकरण अकल्पनीय थियो । त्यतिबेला युनाइटेडले पाँच वर्षको अन्तरमा चौथोपल्ट इंग्लिस प्रिमियर लिग मात्र जितेन, युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको थियो । यो त्यही समय थियो, जतिबेला सर एलेक्स फर्गुसनको नेतृत्वमा युनाइटेडमा स्वर्णिम समय चलिरहेको थियो । अनि यो त्यही समय थियो, जतिबेला सिटी आफै युनाइटेडको छायाँमा थियो । केही पनि उपाधि जित्न नसक्ने टिमका रूपमा सिटीलाई व्यापक लज्जाबोध भइरहेको थियो ।
साँच्चै यस्तो थियो, हल्ला मात्र गर्न जान्ने सिटीमाथि युनाइटेडको दबदबा । ओल्ड ट्राफोर्डको स्ट्रेटफोर्ड दीर्घामा एउटा यस्तो ब्यानर राखिएको थियो । त्यसमा सिटीलाई सम्झाउने प्रयास गरिएको थियो, यो क्लबले उपाधि नजितेको कति भयो भनेर । त्यस ब्यानरमा लेखिएको थियो, ३५ । त्यस २०११ को सिजन सिटीले कुनै पनि उपाधि नजितेको ३५ वर्ष भइसकेको थियो । तर वेम्बलीको त्यस सेमिफाइनलपछि तय थियो, म्यानचेस्टरको आधा नीलो अर्को आधा रातोमाथि हाबी हुनेछ ।
त्यसै खेल जितेर सिटीले त्यो ब्यानरविरुद्ध मीठो उत्तरमात्र फर्काएको थिएन, एउटा ऐतिहासिक घोषणा पनि गरेको थियो, अब छायाँमा पर्ने टिम युनाइटेड हो सिटी होइन । वेम्बलीमा भएको पहिलो म्यानचेस्टर डर्बी परिवर्तनको सूचक नै थियो । सन् २००८ मा दुबईका शेख मन्सुरले सिटीको स्वामित्व किनेयता सिटी इंग्लिस फुटबलको वास्तविक शक्ति भएको छ । टिमले नयाँ उत्कृष्ट खेलाडी किन्नका लागि करोडौं डलर खर्चेको छ ।
सन् २००९ मै त हो फर्गुसनले सिटीलाई ‘हल्ला मात्र गर्ने छिमेकी’ को संज्ञा दिएको । अझ फर्गुसनले सिटी युनाइटेडका लागि कहिले पनि चुनौती नहुने दाबी गरेका थिए । तर उनको दाबीको ठीक विपरीत रोबर्टो मान्चिनीको नेतृत्वमा सिटीले आफूलाई अब्बल दर्जाको टिम बनाइरहेको थियो । त्यसकै आधारमा टिकेर याया टाउरेले खेलको एकमात्र गोल गरे, दोस्रो हाफको सात मिनेटपछि । फाइनलमा सिटीले स्टोकलाई हराएर उपाधि नै चुम्यो ।
त्यसको अर्को सिजन मान्चिनीको सिटीले युनाइटेडलाई ओल्ड ट्राफोर्डमै ६–१ ले हरायो । लिगको अन्तिम दिन क्विन्सपार्क रेन्जर्सलाई हराएर उपाधि पनि जित्यो । त्यो विजयी टिमका एक सदस्य नाइजेल डी जोङले भनेका थिए, ‘अब हामी हल्लामात्र गर्ने छिमेकी रहेनौं, हाम्रो त अब स्वरै ठूलो भएको छ ।’
सन् २०११ को त्यस सेमिफाइनलमा युनाइटेडलाई हराएयता सिटीले १५ ठूला उपाधि जितिसकेको छ । त्यसमा सात प्रिमियर लिगकै उपाधि पर्छन् ।
अहिले सिटी पेप ग्वार्डिओलाको नेतृत्वमा छ र टिमले अझ नयाँ उचाइ छोएको छ । पछिल्ला ६ सिजनमा सिटीले पाँचपल्ट लिग जितेको छ । यता एरिक टेन हागको नेतृत्वमा युनाइटेड आफैं पनि ब्युँझिने प्रयासमा छ । लिगमा तेस्रो आएको युनाइटेडले यसपल्ट लिग कप पनि जितेको छ । शनिबार यही युनाइटेडले एफए कप फाइनलमा सिटीलाई हराउने हो भने त्यसले एक अर्को नयाँ सन्देश दिन सक्छ । फाइनलमा साँच्चै सिटीलाई युनाइटेडले ऐतिहासिक तगारो तेर्साउँदै छ ।

खेलकुद

एसियाडलाई सचिवालय

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदको तयारी थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले शुक्रबार उद्घाटन गरे ।
मन्त्री लिम्बुले सचिवालय स्थापनापछि एसियाड तयारीले तीव्रता पाउने बताए । उनले नेपालको सहभागिता उपलब्धीमूलक बनाउन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको बताए । घिसिङको संयोजकत्वमा १० सदस्यीय १९ औं एसियाली खेलकुद सचिवालय गठन भएको छ ।

Page 9
कोसेली

'कायाकल्प’ को साँघुमाथि मानव समाज

- यादव देवकोटा

 


जोखिमको भट्टी
नदीको एक किनारामा उभिएको जीवलाई अर्को किनारामा पुग्न या पौडन सक्ने खुबी चाहिन्छ या साँघुको । आज त्यो साँघु परम्परागत साँघुमै सीमित रहेन । जहाज, पानीजहाज नै किन नहोस्, तिनले गर्ने काम फेरि पनि साँघुकै हो– मानिसलाई एक किनाराबाट अर्को किनारामा पुर्‍याउनु !
लाखौंलाख, हजारौंहजार वर्षको इतिहासमा मानव वंशका सदस्य समेतले नदी मात्रै होइन, समुद्र पनि पार गरेका छन्– बिनासाँघु, बिनाडुंगा, बिनाजहाज । हिउँदे ठण्डी–याममा समुद्रको पानी जमेर बरफ भएको बखत तिनले कसरी समुद्र पार गरेर अर्को भूगोलमा पाइला टेक्न पुगे ? ती विवरण हामीले प्राककालका इतिहासमार्फत पढ्यौं । ती विवरणमा त्यसरी एक किनारा छाडेर अर्को किनारातिर अघि बढ्ने क्रममा मानव वंशका अकल्पनीय संख्याका सदस्यको जीवन निख्रिएको छ । त्यसरी जीवन निखारेका आफ्ना वंशका सदस्यहरूको लास अनि अस्थिमाथि टेकेर बाँकी सदस्यका पाइतालाले अर्को किनारातिरको भूगोल चुमेको असफलता, त्रासदी र आखिरी सफलताको लोमहर्षक विवरणले हामीलाई रोमाञ्चित बनाउने गर्छ ।
एउटा किनाराबाट अर्को किनारातिर फड्को हान्ने क्रिया केवल परम्परागत भूगोलको आरपारमा सीमित छैन । एउटा परम्परागत स्वरुपबाट अर्को स्वरूपमा, एउटा अवस्थाबाट अर्को अवस्थामा, एउटा युगबाट अर्को युगमा जसरी यात्रा अघि बढेको छ, ती सबै जोखिम र सम्भावनाले भरिएका परीक्षणको साँघु तरेरै सम्भव भएको हो ।
अफ्रिकामा उद्विकास भएको होमो इरेक्टसले जोखिमको बरफमाथि पाइताला टेकेर अफ्रिका छाडी बाहिर ननिस्केको भए त्यसउप्रान्तका मानव वंशका सदस्यहरूको बाँकी विश्वको यात्रा त्यही स्वरूपमा रहन्थ्यो होला कि भिन्न हुन्थ्यो ? यो कोरा अनुमानको मात्रै विषय होइन । मानिसका अज्ञेय अग्रजहरूले जोखिममा होमिएर बाँकी समयका उत्तराधिकारीहरूका लागि पदचापको गोरेटो कोरिदिए बाँकी यात्राको सहजताका लागि । जोखिमसँग खेल्न डराएको भए न तीन लाख पन्ध्र हजार वर्षजति अघि मारेक्कोको जबेल इरहौदमा
उद्विकास भएको होमो सापिएन्स ‘गेट अफ टियर्स’ (आँसुको द्वार) भनिने बब–एल–मन्डेब पार गर्दै अफ्रिकाबाहिरको बाँकी भूगोलमा विस्तारित हुने थियो, न आजको स्वरूपमा होमो सापिएन्सको जीवनका आन्तरिक कायाकल्प सम्भव हुने थियो (ओडेड गालर– द जर्नी अफ ह्युम्यानिटी ः द ओरिजिन्स अफ वेल्थ एन्ड इनइक्वालिटी, २०२२) ।
परम्परागत फिरन्ते सिकारी जीवनबाट पशुपालन, खेतीपाती र अलि स्थिर शैलीको जीवनयात्रातिर अभिसारित हुने जोखिम नलिएको भए न त आज मंगलग्रहमा बस्ती बसाउने सपनाको व्यापार गर्न सक्ने बन्ने नै थियो मानिस । यी सबै साँघुले मानिसलाई इतिहासभरि एक चरणबाट अर्को चरणसम्म तानेर पुर्‍याएको छ । परिवर्तनबाहेक बाँकी सबै विषय असत्य साबित भएका छन् ।
यो इतिहासको कुरा भयो । आजको घटना भोलिका लागि इतिहास हुन्छ । कतिपय आजहरू सामान्य इतिहास बन्नेछन् भोलिका लागि । कतिपय आजका घटना युगीन परिघटनाका पत्रहरू बोकेको विशेष इतिहास बन्नेछ भोलिका लागि । आजको मानव समाज भोलिका लागि एउटा युगान्तकारी र कालजयी इतिहास रचनाको घडीमा उभिएको छ । समाजको वर्तमान स्वरूपबाट फड्को हानेर रूपान्तरणको साँघु तर्दै कायाकल्पको अर्को किनारामा पुग्ने यात्रा आरम्भ गरेको छ– आजको मानव समाजले ।
बढीमा पाँच दशकभित्रै, अन्यथा तीन दशकमा मानव समाज मानवको हाते श्रममा आधारित चरणबाट शारीरिक श्रमलाई विस्थापित गर्दै स्वचालनमा आधारित यान्त्रिक श्रमको युगमा पुग्नेछ । त्यसको यात्रा आरम्भ भइसकेको छ । यान्त्रिक मानव, यान्त्रिक बौद्धिकताले भौतिक मानवमाथि आधिपत्य जमाउनेछ । श्रमको विशालतम क्षेत्रबाट मानिस विस्थापित हुनेछ र विचार/सोच/विमर्श/नवप्रवर्द्धन/आविष्कारका क्षेत्रसमेत यान्त्रिक मानव/यान्त्रिक बौद्धिकताको पकडमा पुग्नेछ । अन्ततोगत्वा यान्त्रिक बौद्धिकता कसरी मानव समाजका लागि जोखिमको भट्टी बन्दै छ र त्यसले मानव जातिलाई नै अस्तित्वरक्षाको संगीन मोडमा उभ्याउनेछ भन्ने विवरण पनि यथाक्रममा तल आउने नै छ ।
उसो त मानव वंशले आफैंसमेतलाई परीक्षण र आविष्कारको जोखिमपूर्ण भट्टीमा नहोमेको भए आज हामी जुन स्वरूपमा छौं त्यस्तो हुने थिएनौं भन्ने सवाललाई पनि यहाँनेर उच्च सचेतनाका साथ स्मरण गर्न जरुरी छ । नयाँ खोज/परीक्षण र नवीन आविष्कार भन्नु पनि आफैंलाई समेत जोखिमको त्यस्तो लप्कोमा होम्नु रहेछ, जसमा हरघडी आफ्नै परीक्षणको लप्कोले आफैंलाई खरानी बनाइदिने जोखिम हुने रहेछ ।

आगोको उज्यालो
परम्परागत तवरले शिकार गरिखाने, काँचै खाना खाने मानवले कसरी आगोसँग खेल्न जान्यो र आफूलाई अभूतपूर्व परिवर्तनको बाटामा होम्यो भन्ने विवरण मानवमा आएको कायाकल्पको अर्को लोमहर्षक दृष्टान्त हो ।
इन्धन, अक्सिजन र तापको सम्मिलनले आगो बाल्न सकिन्छ भन्ने तहमा त्यसबखतका ‘प्रोटो मानव’ को चेतना सक्रिय थियो नै भनेर किटान गर्न सकिन्न । तर, कडा चट्टानमा घर्षण दिएर ताप बढाउने र आगो बाल्ने ज्ञानले डोरिएपछि त्यसले मानव वंशको उप्रान्तको जीवन कायाकल्प गरिदियो । उसको शारिरीक, आनुवंशिक स्वरूपहरूमा समेत उलटफेर भयो । त्यसैले आगोमाथिको पहुँच मानव वंशको इतिहासको एउटा भव्यतम कायाकल्प थियो । आजको स्वरूपको, चेतनाको मानव बन्नुमा पकाएर खान चाहिने आगो प्रयोगको सीप मानिसले जान्नु थियो ।

कृषिको करेसो
मानिससहित पृथ्वीका सारा जीवजन्तु जंगली जनावर हुन् । बितेका बाह्र हजार वर्षमा मानिसले आफूलाई नियन्त्रित कृषि उत्पादन प्रणाली र जनावरलाई बलपूर्वक कज्याउने पशुपालनको बाटोमा अभिसारित गरायो । त्यसलाई यताका दिनमा हामीले घरेलुकरण भन्ने नाम दिएका छौं । जुन वनस्पतिलाई मानिसले नियन्त्रित खेतीप्रणालीको दायरामा ल्यायो, त्यसलाई हामीले घरेलुकृत वनस्पति
(डोमेस्टिकेटेड प्लान्ट) र जुन जनावरलाई आफ्नो नियन्त्रण र रेखदेखको दायराभित्र बस्नेगरी कज्यायौं, त्यसलाई घरेलुकृत जनावर (डोमेस्टिकेटेड एनिमल) भन्ने भाष्य प्रयोग गरिरहेका छौं ।
कृषि–आविष्कारतर्फको मानव–यात्राले अन्य कैयन वनस्पति, जीवजन्तु र प्रकृतिमाथि विनाशलीला मच्चाएर आफूलाई सर्वश्रेष्ठ प्राणीको स्व–विभूषण पहिर्‍याउने गल्ती गरे पनि कृषि प्रणालीमा आधुनिक मानवको प्रवेश आफैंमाथिको भव्यतम कायाकल्प थियो । सिकारी युगको एउटा किनाराबाट खेतीपाती र पशुपालनतिरको जुन साँघु हुँदै मानिसले रूपान्तरणको नदी तरेर अर्को किनारातिरको यात्रा तय गर्‍यो, त्यसले फिरन्ते सिकारी अवस्थाको मानिसलाई आज मंगलग्रहमा बस्ती बसाउने सपनाको जालो बुन्न सक्ने अवस्थासम्म ल्याइपुर्‍यायो ।

अर्को कायाकल्प
फिरन्ते सिकारी अवस्थामै सिकार गर्ने औजारको विकास, आगोको उपयोग, भाषाको विकास, आपसी संवादको विकास, जगंली मानवले आफैंलाई जंगली अवस्थाबाट घरेलुकरण गरेर कृषि र पशुपालन अभ्यासको विकास, यान्त्रिकीकरणजस्ता परिघटना मानव समाज– विकासको इतिहासमा निर्णायक र महत्त्वपूर्ण परिघटनाहरू बने । यो मानव समाजको भव्यतम कायाकल्प थियो ।
बितेका बाह्र हजार वर्षयताको समयमा अनेकन् आविष्कार भए । खेतीपाती र पशुपालनपछि अक्षर लेखनको जुन आविष्कार मानिसले आफ्ना लागि गर्‍यो, त्यसले मानिसलाई कायाकल्पको अर्को चरणमा प्रवेश गरायो । उत्कर्षमा संकेत, वाणीहीनता, लोसे सञ्चार पद्धतिको एक किनाराबाट सूचना, प्रविधि, स्वचालनको अर्को किनारातिर लगिदिँदै छ । सहर, उद्योग, रोजगारी, संस्कृति, धर्म, नीति, राज्य, शासक, शोषक, शोषित, दास, सिपाही, युद्ध, उपचार, धन, सम्पत्ति, पैसा आदि यसैको काँध चढेर अघि आए । विज्ञान, प्रविधिको विकासले मानव समाजलाई प्रलयकारी रूपान्तरको साँघु तराएन मात्रै सम्भावित प्रलयको नयाँ साँघुमाथि ठिंग उभ्याएको समेत छ । यो नयाँ साँघुमाथिको यात्रा मानव जातिले आरम्भ गरिसकेको छ । साँघुमाथिको अलिकति यात्रा सम्पन्न भइवरि अघि बढिसकेको पनि छ । यो साँघु तरिसक्दा ऊ आफैं भने कस्तो किनारामा उभिनेछ भन्ने विषयमा आजका दिनमा विश्वभर नै तीव्र र चर्का विमर्श चलायमान भएका छन् पक्ष र विपक्षमा ।
यो विमर्श आधारित छ, यान्त्रिकीकरणको उत्कर्षमा विकसित यान्त्रिक बौद्धिकतामाथि । यसले मानव समाजको इतिहासमा एउटा निर्णायक कोसेढुंगाको काम गर्नेछ भन्दै यसका पक्ष–विपक्षमा गम्भीर विमर्श विश्वभरका सार्वजनिक मञ्चहरूमा बाक्लिइरहेको छ । सन् २०५० सम्म विश्वको श्रमबजार पूर्णरूपेण स्वचालनमा जाने, समाजमा नयाँ अन्तर्विरोधहरू खडा हुने, मानव समाज अस्तित्व रक्षाको तारेभीरको डिलमा पुग्ने आकलन र चेतावनी यस्ता विमर्शको केन्द्रमा छन् । नहोस् पनि किन, आज मानव समाजका लागि यो एउटा जल्दोबल्दो विषय हो, जुन सम्भावित ‘प्रलय’ का रूपमा उपस्थित छ । यसै सन्दर्भमा समकालीन नेपाली समाजका एक बौद्धिक विष्णु सापकोटाले गत साता कान्तिपुर ‘कोसेली’ मा ‘एक निर्माणाधीन ‘भगवान्’ को भविष्य’ (शनिबार, १३ जेठ २०८०) शीर्षक आलेखमार्फत आज मानव समाज उभिइरहेको अनिवार्य कायाकल्पको नयाँ साँघु–यात्रा अर्थात् यान्त्रिक बौद्धिकतातिर अभिसारित मानव समाजलाई आधार बनाएर विमर्श अघि सारेका थिए । त्यहि विमर्शलाई निरन्तरता दिन यो आलेख लेख्ने धृष्टता गरिएको हो ।

नयाँ साँघु
आफूमाथि आइलाग्ने अप्रत्याशित परिघटनालाई परिभारिषत गर्ने नाम–विशेषण निर्माण गर्‍यो मानिसले– प्रलयका रूपमा । अधिकतर प्राकृतिक विपद् या आफ्नो सामर्थ्यभन्दा बाहिरबाट आफूमाथि बज्रिने घटना जनाउन ‘प्रलय’ शब्द प्रयोग गरिरहिन्छ मान्छे । तर, सधैंभरि त्यस्तो मात्रै हुँदैन । मानिस आफैं आफैंमाथि प्रलयको आरोपण गर्छ र आफैंलाई बित्यासको दहमा चोबल्छ । आजसम्मको मानव समाजको इतिहासमा जे–जति खोज, अनुसन्धान र आविष्कार भए, ती सबै मानिसको जीवनलाई सहज र सरल बनाउने उद्योगअन्तर्गत भए ।
त्यसउपर पनि त्यसबखतका समयमा अनेकन पक्ष–विपक्षका विमर्श शृंखला चलायमान नभएका होइनन् । समाज विकासको जग नै यही हो । नयाँ विचार, खोज र आविष्कारहरू सम्भव हुने नै समाजमा चलायमान सार्वजनिक विमर्शहरूको जमिनमाथि उभिएरै हो । कलकारखानाहरू आउँदा सुरुमा त्यसले परम्परागत हाते श्रममा आधारित रोजगारी संकटमा पर्ने विमर्शहरू भए । गाडी आयो, त्यसले भरियाको श्रम आधार खोस्ने विमर्शहरू चले । नयाँ प्रवर्द्धनात्मक र आविष्कारात्मक परिणामहरूले केही न केही नकारात्मक असर हमेसा आजसम्मको आविष्कारको इतिहासमा छोडिआएकै छ । कतिसम्म भने औषधिले समेत साइडइफेक्टको जोखिम सँगै बोकेर आएकै छ ।
आजसम्मको मानव समाजको खोज र आविष्कारले नकारात्मक भन्दा सकारात्मक असरको योगदान दिएको विमर्श मूलधारले अधिग्रहण गरिरहेको छ । तर, ठीक हाम्रो सामुन्ने आइसकेको नयाँ आविष्कार भने मानव समाजमाथिकै ‘प्रलय’ हुन सक्ने भन्दै विश्वविख्यात बौद्धिक र भौतिक विज्ञानका अग्रणी ‘थिंक ट्यांक’ हरू समेतले चेतावनी दिएका छन् ।
लेखक विष्णु सापकोटाले आफ्नो लेखमा इंगित गरेको ‘निर्माणाधीन भगवान्’ यिनै संसारभरका अग्रणी सामाजिक चिन्तक र वैज्ञानिकहरूले भयग्रस्त भएर नियालिरहेको नयाँ साँघुमाथि उभिएको सम्भावित ‘प्रलय’ नै हो । अर्थात् नयाँ भगवान (आजको धार्मिक रुढीमा लपेटिएको भगवान् होइन) का रूपमा उल्लिखित विषय यताका दिनमा नेपाली लेखनमा ‘कृत्रिम बौद्धिकता’ को रूपमा प्रचलित, तर पंक्तिकारलाई भने ‘यान्त्रिक बौद्धिकता’ को रूपमा प्रयोग गर्न उचित लाग्ने (यो आलेखमा यान्त्रिक बौद्धिकता शब्द नै प्रयोग गरिएको छ) ‘आर्टिफिसियल इन्टिलिजेन्स’ हो । र, त्यसको पनि उत्कर्ष ‘च्याटजिपिटी’ हो ।
निश्चय पनि यान्त्रिक बौद्धिकताको विकास मानिसको कामलाई सजिलो बनाउन र ‘म्यानुअल वर्क’ लाई पूर्ण स्वचालनमा (फुल अटोमेसन) लैजाने अभिप्रायले प्रेरित रहेको भन्ने गरिन्छ । खासगरी मानिसको स्वास्थ्य उपचारको आम पहुँच र सृष्टिको अज्ञेय विषयको खोज, मानव र प्राणीहरूको उद्विकासको थप ज्ञान प्राप्ति, मानवीय श्रम शोषणको उन्मूलन, विश्व सुरक्षा, उत्पादन वृद्धिमार्फत आर्थिक विकास शीर्षकमा यसले मद्दत गर्ने विषयमा असहमत हुन अहिले नै थप बल लगाइरहनु आवश्यक छैन । तर, यसले मानव समाजमाथि पुर्‍याउन सक्ने प्रलयका जुन आधारहरू देखिन्छन्, त्यसले यान्त्रिक बौद्धिकता एउटा ‘निर्माणाधीन भगवान्’ भन्दा बढी ‘निर्माणाधीन दैत्य’ (चल्तीको धार्मिक बर्को ओढेको दैत्य होइन, अधिचेतनाको दैत्य) को रूपमा उदाउने आधारहरू बलियो देखिन्छ ।

त्रासको काठे साँघु
गत मार्च २२ मा विश्वभरका एक हजारभन्दा बढी प्रविधिका अगुवा, प्राध्यापक, सार्वजनिक बौद्धिकले अनियन्त्रित र सीमाहीन यान्त्रिक बौद्धिकताको विकास समाज र मानवताका लागि गम्भीर जोखिमको विषय भएकामा विमर्श गरेका थिए । र, यान्त्रिक बौद्धिकताको विकास खासगरी च्याटजिपिटीको थप उन्नयनको स्वरूपको काम कम्तीमा ६ महिना रोक्न उनीहरूले अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– झन्पछि झन् शक्तिशाली यान्त्रिक दिमागको विकास यसरी भइरहेको छ, जो यसको निर्माणकर्ता या मालिकले समेत बु√न, आकलन गर्न र नियन्त्रण गर्न सक्ने सामर्थ्यभन्दा बाहिर पुगेको छ । त्यस विज्ञप्तिमा आर्टिफिसियल न्युरल नेटवर्क र डिप लर्निङका लागि विख्यात कम्प्युटर वैज्ञानिक/प्राध्यापक योसुआ बेंगियो, ब्रुकलीका कम्प्युटर विज्ञानका चर्चित प्राध्यापक तथा एआई विज्ञ (आर्टिफिसियल इन्टिलिजेन्स ×ः ए मोर्डन एप्रोचका लेखक) स्टुअर्ट जोनाथन रसेल, कर्नेल विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्राध्यापक तथा एसोसिएसन फर द एड्वासन्समेन्ट अफ आर्टिफिसियल इन्टिलिजेन्सका पूर्वअध्यक्ष बार्ट सेल्मन, हिब्रु विश्वविद्यालयका विख्यात प्राध्यापक तथा लेखक युवल नोआ हरारीले हस्ताक्षर गरेका छन् । त्यसैगरी स्पेस एक्स/टेस्ला/ट्वीटरका प्रमुख एलन मस्क, एप्पलका सह–संस्थापक स्टिव वोजिन्याक, बुलेटिन अफ द एटोमिक साइन्टिस्टमा अध्यक्ष राहेल ब्रोनसन, स्टाबलिटी एआईका प्रमुख इमद मोस्ताकी, स्काइपका सह–संस्थापक जान टालिन, गेट्टी इमेजका प्रमुख क्रेग पिटर्स, एमआईटीका आर्टिफिसियल इन्टिलिजेन्सका भौतिकशास्त्रका प्राध्यापक म्याक्स टेगमार्क, हार्वडका प्राध्यापक डँलियन अँलनजस्ता विख्यात प्रविधि विज्ञानका शोधकर्ता, प्राध्यापकसहितका विश्वभरका सार्वजनिक बौद्धिकहरूले विज्ञप्तिमा हस्ताक्षर छन् ।
उसो त च्याटजिपिटी सार्वजनिक प्रयोगमा आउनुभन्दा पहिल्यै सन् २०१८ मा निधन भएका भौतिक विज्ञानका ख्यातानाम वैज्ञानिक स्टेफन हकिङले आर्टिफिसियल इन्टिलिजेन्स (यान्त्रिक बौद्धिकता) ले मानव जातिकै अन्त्य गर्न सक्ने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यान्त्रिक बौद्धिकता मानिसका काममा धेरै नै उपयोगी साबित भए पनि यसले आफैंलाई स्वचालित तवरले पुनःसंरचना गर्नसक्ने र पुनर्ताजगीकरण गर्न सक्ने कारण निश्चित सीमासहितको जैविक विकासको गतिमा रहेको मानव जातिले यान्त्रिक बौद्धिकतासँग प्रतिस्पर्धा गर्न सक्दैन ।’ यही प्रतिस्पर्धामा नटिक्ने कारण मानव जातिको विशालतम हिस्सा असार्न्दभिक बन्ने र अधिक्रमणमा पर्न सक्छ भन्ने उनको चिन्ता छ (‘आर्टिफिसियल इन्टेलिजेन्स् कुड इन्ड म्यानकाइन्ड’ः स्टेफन हकिङ, २ डिसेम्बर, २०१४, बीबीसी) ।
आतंकवाद, अनियन्त्रित युद्ध निम्त्याउन सक्ने र एआईको उदय मानव सभ्यताको इतिहासकै सबैभन्दा खराब घटना हुन सक्ने चेतावनी दिँदै हकिङले भनेका छन्– यान्त्रिक बौद्धिकता बनाउने सफलता मानव सभ्यताको इतिहासकै सबैभन्दा ठूलो उन्नत घटना बन्न सक्छ । यसविपरीत इतिहासकै सबैभन्दा खराब घटना पनि हुन सक्छ । यसबारे हामीलाई प्रस्ट थाहा छैन । त्यसकारण अहिले नै हामी थाहा पाउन सक्दैनौं कि यान्त्रिक बौद्धिकताले हामीलाई अपरिमित मात्रामा मद्दत गर्छ कि यसैले मानव जातिलाई उपेक्षा, विस्थापन र किनारीकृत गराइदिनेछ (‘एआई कुड बी वस्ट इभेन्ट इन द हिस्ट्री अफ आवर सिभिलाइजेसन’ः स्टेफन हकिङ, नोभेम्बर ६, २०१७, सीएनबीसी) । उच्च र आधुनिक प्रविधिमा आधारित सिर्जनात्मक व्यावसायका अग्रणी तथा स्पेस एक्स र टेस्लाजस्ता विख्यात कम्पनीका मालिक तथा आफैं पनि च्याटजिपिटीको वैकल्पिक आर्टिफिसियल इन्टिलिजेन्स निर्माणमा लागेका एलन मस्कले यान्त्रिक बौद्धिकतालाई मानव जातिको अस्तित्वकै सबैभन्दा ठूलो खतराको रूपमा व्याख्या गरेका छन् (बीबीसी, उही) । च्याटजिपिटी सञ्चालन गर्ने ओपन एआईका आरम्भिक संस्थापक समेत रहेका मस्कले त एआईकै कारण तेस्रो विश्वयुद्ध हुन सक्ने चेतावनी पनि दिएका छन् ।

आलोचनाको आधार
संसारैभर यान्त्रिक बौद्धिकतामाथि भयपूर्ण विमर्श चल्नुपछाडिका खास कारण छन् । यान्त्रिक बौद्धिकताले नयाँखालको उच्च प्रविधिमा आधारित रोजगारीको बाटो खोले पनि मानिसले गर्ने काम यो आफैंले गर्न सक्ने भएकाले विशालतम जनसंख्यालाई रोजगारीबाट विमुख गराउनेछ । परम्परागत तवरका कार्यमा श्रमशक्ति बेचेर त्यसको भरमा गुजारा गर्नुपर्ने वर्गले यान्त्रिक बौद्धिकताकै कारण रोजगारी गुमाउँदै छ ।
यसअघिसम्म विज्ञान, प्रविधिले या यान्त्रिकीकरणले परम्परागत शारीरिक श्रमलाई विस्थापित गरेर रोजगारीको नयाँ अवसर सिर्जना गरेको थियो । जस्तो कि भरियालाई विस्थापित गरेर गाडी बनाउने कलकारखानामा मजदुरीको अवसर सिर्जना गरेको थियो । ड्राइभरको रोजगारी सिर्जना गरेको थियो । गोरुले जोत्ने खेत ट्याक्टरले जोतेर ट्याक्टर बनाउने कारखानामा मानिसलाई रोजगारी सिर्जना गरेको थियो । उत्पादनमा भारी वृद्धि गराएर कम श्रममा सजिलो जीवन बाँच्ने आधार प्रदान गरिरहेकै छ । त्यसले पनि परम्परागत तवरले श्रमशक्ति बेचेर गुजारा चलाउनुपर्ने वर्गलाई त विस्थापित गरेकै थियो, तर ऊसलाई नयाँ अवसरको बाटामा तानेको पनि थियो । तर, यान्त्रिक बौद्धिकताले भने मानव समाजको यो लयलाई तलबितलमा पारिदिने देखिन्छ । कतिसम्म भने मृत्यु भइसकेका गायकको स्वरलाई संकलन गरेर एआईले उनकै स्वरमा गीत गाइदिएको छ । केही वर्षमै एआईले चलचित्र निर्देशन गर्ने समाचार सार्वजनिक भएका छन् । अब पढाउन कक्षाकोठामा मानव शिक्षक चाहिनेछैन । समाचार लेख्न मानव पत्रकार, गाडी चलाउन गाडीचालक, विमान चलाउन विमानचालक, कसैको पनि जरुरत पर्नेछैन । ग्यास स्टेसनमा अब एआईले तेल भर्नेछ । अब रेस्टुरेन्टमा रोबर्टले खाना बनाएर तपाईंलाई ‘सर्व’ गर्नेछ । खेती प्रणाली ‘अटोमेसन’ मा जानेछ । राज्यको सुरक्षा र सिमाना नियमन गर्न अब मानवरूपी सिपाहीको जरुरत पर्नेछैन । त्यो काम ‘यान्त्रिक बोर्डरफोर्स’ले गर्नेछ । चीनले ‘एअर बोर्डर’ सेक्युरिटीको रूपमा स्वचालित प्रविधि प्रयोग गरिहेको सार्वजनिक गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाको स्वरूप आजको जस्तो हुनेछैन । आजैको दिनमा केही वर्षअघिको तुलनामा बैंकमा काम गर्ने मानवीय शक्ति कम भएको छ । त्यसको स्थान एटीएम, अनलाइन पेमेन्ट प्लाटफर्मले लिएको छ । अब बिस्तारै एटीएम मेसिनहरू पनि विस्थापित हुनेछन् । त्यसको स्थान पूर्ण डिजिटल भुक्तानीले लिनेछ । नगदको प्रयोग पूर्ण शून्यमा झर्नेछ । यसो भएपछि अब आजको जस्तो धेरै बैंक, तिनका शाखा, एटीएम मेसिन र तिनमा कार्यरत मानवीय श्रमशक्तिको आवश्यकता पर्नेछैन ।
यी सबै काममा एकदमै सीमित मानव जनशक्तिले मात्रै श्रमको अवसर पाउनेछन्, यान्त्रिक मानव र यान्त्रिक बौद्धिकताका लागि सहजकर्ता या सहयोगीका रूपमा । बिस्तारै त्यो पनि एआईले खोस्नेछ । खासगरी त्यो जनसंख्या, जसको स्वामित्वमा कुनै पनि खाले सम्पत्ति छैन, त्यसले मानव समाजको इतिहासकै सबैभन्दा कठोर र निर्दयी घडीको सामना गर्नुपर्नेछ । एकातिर कुनै पनि प्रकारको भौतिक सम्पत्तिमाथि स्वामित्व नहुने र अर्कातिर भएको श्रमशक्ति पनि श्रम बजारमा बेच्न नपाउने अवस्थाले श्रमबजारको विशालतम जनसंख्या प्रभावित बन्दै छ । यान्त्रिक बौद्धिकता र रोबर्ट प्रविधिको स्वामित्व निश्चित मानिसहरूको हातमा संकेन्द्रित भइसकेकै छ । यसले अझ उत्कर्ष समात्नेछ । विशालतम जनसंख्याले न सम्पत्तिमाथिको स्वामित्व न श्रमशक्ति बेच्ने अवसरको साँघुमाथि संकटको पाइला टेकिसकेको छ ।
यसले मानव समाजमा रहेको गम्भीर सामाजिक असमानतालाई अनियन्त्रित तवरले विस्तार गर्नेछ । अब बिस्तारै समाजमा नयाँ जातको उदय हुनेछ । ‘म्यानुअल’ कामदारहरूको जात र ‘अटोमेसन’ मा सामेल मानिसहरूको जात । एआईको घोडा चढ्ने या त्यसमाथि कजाइँ गर्नेहरू आजका दिनमा घरेलुकरण भएका मानिसजस्तो बेग्लै सामाजिक अभ्यासमा सामेल मानिसजस्ता हुनेछन् भने एआईको घोडा चढ्न नसकी परम्परागत ‘म्यानुअन वर्क’ मा झुन्डिरहेकाहरू या एआईमाथि पहुँच र स्वामित्व नभएकाहरू आजका दिनमा पनि फिरन्ते सिकारी युगको जीवन बाँचिरहेका मानव समूहजस्ता हुनेछन्– पूर्णतया आइसोलेटेड, अस्तित्वरक्षाको आखिरी चुनौतीसामु उभिएका फिरन्ते मानव समूहजस्ता । विचार, चेतना, विमर्श, सूचनाका सारा मञ्चहरू एआईले कब्जा गरेर मिथ्या–भ्रमपूर्ण या दागी सूचनाले समाजलाई डाम्नेछ भन्ने विवरण माथि नै उल्लेख गरिसकिएको छ ।
यो अवस्थाले सिँगो मानव समाजमा दुर्घटना निम्त्याउने पक्कापक्की छ । निश्चित मानिसका हातमा यस्ता संसाधनमाथिको स्वामित्व कायम रहने र विशालतम जनसंख्या भने बेरोजगार बन्नुपर्ने अवस्थाले विश्वमा नयाँ युद्ध वा विश्वव्यापी सामाजिक विद्रोहको अनिवार्य बाटामा मानव समाजलाई होम्नेछ । आतंकवादका लागि आजसम्म मानव जनशक्तिको दुरुपयोग भइरहेकामा अब यान्त्रिक मानव र यान्त्रिक बौद्धिकताको दुरुपयोग गरी विध्वंस मच्चिने खतरा हुनेछ । अहिले नै ड्रोन र मानवरहित विमानहरू युद्धमा प्रयोग हुन थालिसकेका छन् । आत्मघाती हमलाका स्थानमा यान्त्रिक मानव प्रयोग गरेर विस्फोट गराउने हमलाका आयामहरू अघि आउनेछ ।
यान्त्रिक मानव र यान्त्रिक बौद्धिकता प्रधान रहेको समाजमा मानवीय भावनाहरूको स्थान रहनेछैन । सरसहयोग र मद्दतजस्ता मानवीय भावना बिस्तारै विलुप्त हुनेछ । यस्तो मानवीय भावनाहीन यान्त्रिकताको आधिपत्यले शरणार्थी, गरिब र समाजका तल्लो वर्गका मानिसहरू सबैभन्दा चर्को चपेटामा पर्नेछन् ।
यान्त्रिक बौद्धिकता नयाँ निर्माणाधीन साँघुको अर्को किनारातिरको मुखमा उभिएको ‘नयाँ दैत्य’ का रूपमा विकास भइरहेको छ, जुन आजको दिनमा नियन्त्रित विज्ञान–प्रविधिको किनाराबाट पूर्ण स्वचालनको यान्त्रिक बौद्धिकताको साँघु तर्दै आफूतिर आइरहेका मानिसको विशाल हिस्सालाई निल्न मुख खोलेर बसेको छ । यान्त्रिक बौद्धिकता कति अनियन्त्रित र भ्रामक सूचनासहित मानव समाजमा ढलीमली गर्न अग्रसर छ भन्ने च्याटजिपिटीको आजको क्रिया हेरेर पनि आकलन गर्न सकिन्छ । अन्तिम र सत्य सूचनामाथि पकड नभएका मानिसमा कति गलत र भ्रमपूर्ण सूचना यसले प्रवाहित गरिरहेको छ भन्ने हामीले देखिसकेकै छौं । तसर्थ च्याटजिपिटीजस्ता यान्त्रिक बौद्धिकतामा आधारित स्वचालित संरचनाहरूको अन्तिम नियन्त्रण मानिसको विवेक–दायराको सीमामा सीमित गरिनुपर्छ, जसरी विध्वंसकारी बमहरू स्वचालनमा नछाडी मानिसले आफ्नो विवेकको घेराभित्रै राखिरहेको छ । यसो भयो भने यान्त्रिक बौद्धिकताले मानव समाजको भलो नै गर्नेछ । भएन भने यो अफ्रिकाबाट एसिया छिर्ने होमो सापिएन्सको विशालतम जनसंख्यालाई निलिदिने बब–एल–मन्डेबरूपी आँसुको द्वार पनि बन्न सक्छ । बब–एल–मन्डेबले सबै आधुनिक मानव निल्न सकेन र अफ्रिकाबाहिर आधुनिक मानवको विस्तार सम्भव भयो । त्यसले होमो सापिएन्समाथि कायाकल्प सिर्जना गर्‍यो । नजाने आर्टिफिसियल इन्टिलिजेन्स रूपी नयाँ बब एल–मन्डेबले कति मानिसलाई नयाँ साँघु तरेर अर्को किनारातिर पुग्न दिने हो या कतिलाई अर्को किनारातिरको मुखमा बसेको विध्वंसकारी दैत्यको सिकार बनाउने हो !

हामी नछुटौं
यान्त्रिक बौद्धिकताको विकासले मानव समाजमाथि नयाँ कायाकल्प आरोपित गराउने विषयमा कुनै विवाद छैन । नेपाली समाजले कति छिटो यो वायुपंखी वेगमा बत्तिएको घोडामाथि सवार भएर यो घोडालाई आफ्नो योग्यताको तबेलामा बाँध्न सक्छ भन्ने विषयमा काम गर्न ढिला हुन थालिसकेको छ । तर, हामी छुटिसकेका छैनौं । समयमै मानव समाजको विश्वव्यवस्था बदल्ने दिशातिर अग्रसर यो नयाँ साँघुमाथिको जोखिमपूर्ण यात्रामा होसियारीपूर्वक सामेल भएनौं भने हामी पुलपारिको किनारबाट धेरै टाढा छाडिनेछौं ।

Page 10
कोसेली

सेतो सलको उकुसमुकुस

- मधु शाही

 


गाउँको स्कुल छाडेर काठमाडौं सहरमा पहिलो पाइला टेक्दा मनभरि थियो, उत्साह । नयाँ सहर, नयाँ साथी, नयाँ जीवनशैली ! मेरो खास चासो थियो– कुन स्कुल पढ्ने ! टाई, सर्ट, पाइन्टमा ठाँटिएर स्कुल जाने रहर थियो मेरो, तर त्यो रहर आखिर सपना भइगयो ।
काठमाडौंको स्कुलमा भर्ना त भएँ । स्कुल ड्रेसचाहिँ मैले सोचेभन्दा बिलकुलै फरक थियो । डिल्लीबजारको पद्मकन्या विद्याश्रममा ९ कक्षामा भर्ना हुन पुगेकी थिएँ, मेरा आँखाले अनौठा र रोचक दृश्यहरू देखे– जहाँ हेर्‍यो केटी नै केटी, हरिया जामा र सेतो सल लगाएका । ०५९ सालतिरको त्यो दिनको सम्झना मनमै छ । सोचेकी थिएँ– के यो स्कुलमा केटाहरू नै छैनन् ?
हरियो जामा, सुरुवाल र टाइको सट्टा सेतो सल । घाँटीमा मिलाएर त्यो सल लगाउन नयाँ विद्यार्थीलाई निकै सास्ती हुन्थ्यो । सल मात्रैले कहाँ पुग्नु ? त्यसलाई अड्याउन तीन/चारवटा खिपसमेत चाहिन्थ्यो । कहिलेकाहीँ खिपले नअडिएको सल सम्हाल्न सकसै हुन्थ्यो । त्यो सल सम्हाल्न केटीहरू कक्षाकोठा, शौचालय, खेल मैदान, जहाँ हुन्छ, त्यहीँ बाध्य हुन्थे । वास्तवमा ती दिनहरूमा सल कुनै कपडा मात्रै थिएन, तनावको अर्को विम्ब पनि थियो ।
मेरी साथी भगवती सल चिटिक्क पारेर लगाउन सिपालु भइसकेकी थिई । म पढाइमा नि लद्दु अनि सल मिलाउन नि लद्दु । ऊ मलाई खिपले अड्याउन सिकाउनै व्यस्त हुन्थी । स्कुलमा कसले सल चिटिक्क मिलाएर लगाएको छ ? सबैको चासो त्यसमा हुन्थ्यो ।
‘लुट’ फिल्मको गीत ‘उध्रेको चोली छ है...’ मा आइटम डान्स गरेर लोकप्रिय बनेकी नायिका सुष्मा कार्की र म एउटै ब्याचका विद्यार्थी थियौं, सेक्सन फरक थियो । बोलचाल कम, देखादेख बढी हुन्थ्यो । उनी पहिलेदेखि नै रूपवती थिइन् । चिटिक्क पारेर सल लगाएर आउँथिन् । हामी उनको लगाइको निकै चर्चा गर्थ्यौं । तर, सल छोटो पारेर लगाइयो भने शिक्षकबाट गाली खाइन्थ्यो । छातीको भाग सकेसम्म सलले छोप्नैपर्थ्यो । होमसाइन्स पढाउने शिक्षिका हुनुहुन्थ्यो, जो भनिरहनुहुन्थ्यो, ‘छातीको भाग ढाकिने गरी सल ओढ, संस्कारी विद्यार्थी बन !’ उतिबेला बुझिनँ कुरा । सोच्थें– आखिर सलभित्र के छ त्यस्तो संस्कार ? अझै छाती नै ढाकेर हिँड्नुपर्ने कारण के होला ?
घट्टेकुलो बस्ने म हिँड्दै डिल्लीबजारको विद्यालय आउँथे । बाटैभरि सललाई नै ताकेर सडक किनारमा बसेर हेर्ने पुरुष धेरै हुन्थे । ती प्वाक्कै बोली पनि हाल्थे– लेग्रो तान्दै, जिब्रो पड्काउँदै ती भन्थे, ‘क्या दामी हरियो जामा, क्या दामी सल Û’
एक दिन भगवती र म आफ्नै धुनमा गफिँदै स्कुल जाँदै थियौं । डिल्लीबजार नपुग्दै पीपलबोटनिर सडकपेटीमा केटाहरूको ग्याङ थियो । एक जनाले नजिकै आएर कानैमा फुक्यो, ‘यो सलभित्र के छ ?’ जवाफ थिएन । कपडाकै कारण उसले हेपेको महसुस भयो । सायद, सल नभइदिएको भए त्यो केटोले त्यस्तो जिज्ञासा राख्थेन कि ?
पढेर थाहा पाएकी थिएँ, लेखक पारिजातले यही स्कुलबाट १७ वर्षको उमेरमा एसएलसी दिएकी थिइन् । मैलेजस्तै, यही सलको सास्ती उनले पनि खेप्नुपरेको थियो होला । यहा सल असमानताको प्रतिविम्ब थियो । नारी अस्तित्वलाई हेर्ने खोक्रो आवरण थियो । २००४ सालमा पद्मशमशेरले नारी शिक्षाको प्रोत्साहन गर्न पद्मकन्या विद्याश्रम सञ्चालन गरे । ७ दशक उमेर नाघेको यस विद्यालयले अहिले सल र जामा हटाएर पाइन्ट सर्ट राखेको छ । यो मात्रै होइन, आधुनिक शिक्षामा पनि जोड दिएको छ । पाइन्ट, सर्टले विद्यार्थीलाई सजिलो बनाएको छ भन्नुहुन्छ शिक्षिका निमा पाण्डे । निमा म्याडमले मलाई पनि पढाउनुभएको हो । अहिलेसम्म पनि विद्यालयमै हुनुहुन्छ । ऊबेला सल मिलाएर नलगाउँदा उहाँ पनि गाली गर्नुहुन्थ्यो । नङ पालेका केटीहरूको चौरमै नङ काटिदिनुहुन्थ्यो । केटीहरू कहाँ के गर्दै छन् ? यसमा पनि शिक्षकलाई विशेष चासो हुन्थ्यो ।
बिहानको प्रार्थनाको समयमा आधाजसो केटी हराउँथे, आफ्नै स्कुलमा । बिहान ८, साढे ८ बजेको बीचमा ९ र १० कक्षाका किशोरीको ठूलै हूल स्कुलअघिको पहेंलो घर ताकेर बस्थ्यो । खासगरी छत र त्यो घरको बार्दलीमा उनीहरूका आँखा गाडिएका हुन्थे । ती किशोरीहरू त्यतिबेलाका चर्चित पप गायक नवीन के. भट्टराईलाई हेर्न तँछाडमछाड गर्थे । कन्या स्कुलको छेउमै उनको घर छ । बिहान ८ बजेतिर छत या बार्दलीमा टहलिन निस्किन्थे उनी । कहिलेकाहीँ सेतो गन्जी लगाएर देखा पर्थे भने कहिले उनको शरीरमा जिन्स पाइन्ट मात्रै हुन्थ्यो । कहिलेकाहीँ गिटार बोकेर छतमा आफ्नै गीत गुनगुनाइरहन्थे, ‘तिमीले हेर्दा कसैलाई... गाह्रो हुन्छ यो मनलाई... ।’
उनको जुनसुकै रूप हेर्न पनि कन्या स्कुलका हामी किशोरीको उत्सुकता बढ्थ्यो । उनी देख्दा कोही सिट्टी बजाउँथे त कोही ‘लभ यु ∕’ भन्दै चिच्याउँथे । बल्लतल्ल झुल्किएका गायक हाम्रै हल्लाले तुरुन्तै ओझेल पर्थे । उनकै गीतले भनेझैं हामीले हेर्दा उनलाई गाह्रो पर्थ्यो । हल्ला र सिट्टीले उनी मुस्कुराउँदै कोठामा पस्थे । उनी नदेखिएको दिन केटीहरू स्कुलको छतमा पुग्थे ।
स्कुलपारि अर्को स्कुल छ– विजय स्मारक । त्यहाँका केटा विद्यार्थीहरू प्रायः टिफिन टाइममा छतमै हुन्थे । अनि कन्याका केटीहरू पनि छतमै । छतको देखादेखमै ‘फलना केटासँग लभ परेको छ’ भन्दै सपना बुन्ने केटीहरू पनि थिए । हाम्रो स्कुलमा थोरै पुरुष शिक्षक थिए, म्याथटिचर अलि युवा नै थिए, लुरे ज्यान, चुच्चो नाक, हाँसोचाहिँ मीठो थियो । तर, रोजाइ प्रशस्त नहुँदा यिनै एक पुरुष शिक्षक पनि विद्यार्थीमाझ आकर्षणकै केन्द्र थिए । म्याथ शिक्षक नआएको दिन केही केटीहरूको मुख अँध्यारो हुन्थ्यो । पढ्ने, लेख्ने काम त्यो दिन कमै हुन्थ्यो । ‘किन आएन ? के भयो सरलाई ?’ केटीहरू दिनैभरि खासखुस गरिरहन्थे ।
एक दिन त म्याथ टिचरका विषयमा दस कक्षाका केटीहरूबीच ठूलै लफडा परेछ । मनमनै म्याथ टिचरको तानातान गर्न थालेछन् । एकले अर्कालाई ‘मैले मन पराछु’ भन्न थालेछन् । झगडा चर्को भएपछि एक कान दुई कान खबर सरकै कानमा पुग्यो । सरले खै कसरी झगडाको टुंगो लगाए, याद छैन । कन्या स्कुलमा पढ्ने हामी किशोरीमा एउटै अभाव खड्किन्थ्यो– पुरुष साथीको ।
कन्या स्कुलको ड्रेस र विद्यालयको पहिचानले विद्यार्थीमाथि हिंसा पनि
भएका छन् । ‘कन्या स्कुल’ भन्दै हिँडिरहेका केटीलाई काननेरै आएर ट्वाक्क जिब्रो पड्काऊँ केटाहरू । ‘वाह हरियो जामा’ भन्दै व्यंग्य गर्थे केटाहरू । म ती सबै चुपचाप सहन्थें, घोप्टे मुन्टो लगाएर ।
पुरुषहरूबाट जोगिन, सुरक्षित हुन, सभ्य र अनुसाशीत विद्यार्थी बन्न कन्या स्कुल भर्ना भएकी मलाई कहिल्यै हिंसा र असुरक्षाले छोडेन । केटी पढ्ने स्कुल भएकैले धेरैले हेपिरहे । त्योभन्दा पनि बढी मानसिक रूपले विक्षिप्त थिए– कन्या स्कुल पढ्ने मेरा साथीहरू । कुनै पुरुष साथी बनाउनु त परै जाओस्, कुरासमेत गर्नु पाप होजस्तो लाग्थ्यो । तर, अधिकांश किशोरीको मन, मस्तिष्क र मुखमा पुरुषै गजधम्म बसिरहेको हुन्थ्यो । कन्या स्कुलमा सुरक्षित हुने आशाले परिवारले पढ्न पठाएकी मेरी एक साथीले दस कक्षा पुगेकै वर्ष भागी बिहे गरेकी थिई ।
धेरैपछि मैले महसुस गरेँ– पुरुष र महिलाको अन्तरघुलन निकै जरुरी छ । कन्या स्कुलबाट एसएलसी पास गरेपछि मेरो अंकलले यही मनोविज्ञान बुझेर रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना गरिदिनुभयो ।
केटीहरू मात्रै पढ्ने थलोबाट आएकी म कलेजको पहिलो दिन नै निस्फिक्री छाती फुलाएर हिँड्ने केटाहरूको भीडमा पुगें । कलेज पुग्दा पनि टाई, पाइन्ट, सर्ट लगाउने मेरो चाहना अधुरै रह्यो । त्यहाँ पनि केटीहरूले लगाउने ड्रेस कुर्था–सुरुवालै थियो । फेरि सल सम्हाल्दै पहिलोपटक क्याम्पस पुगें । सबै बेन्च भरीभराउ थियो, एउटा अलि खुकुलो देखें । केटा र केटी मिश्रित बसेका थिए– मुना कट्वाल, सेन्मी राई र शिव । मैले ‘थोरै बस्छु ल’ भन्दा बेन्चछेउ बसेका शिवले जुरुक्क उठेर सर्टको टाँक खोल्दै, छाती देखाउँदै भनेका थिए, ‘तपाईं भन्नुहुन्छ भने, यहाँ नि खाली ठाउँ छ ।’ केटाको नामैले तर्सिने कन्या स्कुलकी विद्यार्थी मलाई उसको त्यो व्यवहारले रातोपिरो बनायो । म त आँखाभरि आँसु लिएर उसकै अघि ठिंग उभिएछु । मेरो बिजोग देखेर कक्षाभरि हाँसो गुन्जियो । पछि उही शिव मेरो मिल्ने साथी बन्यो । ऊजस्ता थुप्रै केटासँग मैले मित्रता बनाएँ । ऊजस्तो उट्पट्याङ गर्थ्यो, मनको सफा थियो । पछि ऊ आफैं नबसी मेरा लागि सिट खाली गरिदिन्थ्यो । आफू कक्षाकोठाको पछाडि गएर हल्ला गर्थ्यो । मैले सुरुमा जुन धारणा ऊप्रति बनाएकी थिएँ, ठीक विपरीत पाएँ उसलाई । ऊ मात्रै होइन, केटा साथीहरू हरेक कुरामा सहयोगी र मिलनसार पाएँ । कन्याबाट रत्नराज्यसम्म आउँदा पुरुष र महिलाको मित्रवत् व्यवहार बनाउन अन्तरघुलन हुनुपर्ने महसुस गरेँ मैले ।
हामी विभदेका स्वरूप अन्त्य गर्ने प्रयास गर्छौं, तर समानताका आधारलाई कोसौं टाढा राख्छौं । महिला र पुरुष शत्रु होइनन्, मित्र हुन् । उनीहरू जति सहज तरिकाले एकार्काका साथी बनेर दैनिक जीवनयापन गर्न सक्छन्, त्यति नै हिंसात्मक भावना हट्न सक्छ । म कन्या स्कुलको विद्यार्थी छँदा जति हिंसात्मक मनोभावले प्रभावित थिएँ, पुरुष र महिला पढ्ने कलेजमा पुगेपछि त्यति कम पाएँ । पुरुष–महिलाबीचको दूरी मेटाउनु नै हिंसाको अन्त्य हो र समानताको समाज निर्माण हुनु हो । विभेदको अन्त्य दुई विपरीतबीचको अन्तरघुलनमा हुनेरहेछ । विपरीत लिङ्गप्रतिको आकर्षण प्राकृतिक विषय हो । तर, यही आकर्षण हिंसात्मक नभई सकारात्मक मनोभवमा विकसित हुने हो भने पुरुष र महिलाको मित्रता पवित्र हुन्छ । तर, विडम्बना के भने, अझै हाम्रा स्कुलमा हामी छोरा–छोरीको संस्कार, हुर्काइ, सोचदेखि आचरणसम्मै विभाजन गरिरहेका छौं । जस्तो स्कुलमै पनि केटा र केटी बस्ने फरक बेन्च राखिनु, उनीहरूलाई खेलमा सहकार्य गर्न नदिनु, बोल्दा, खाँदा, मित्र बनाउँदा सिधै यौनिकतासँग दाँज्नु आदि । मलाई बेलाबखत भन्छन् साथीहरू– ‘तिम्रा कति धेरै केटा साथीहरू छन्, हगि !’ म भने मुस्कुराउँदै भन्छु, ‘थ्यांक यु !’

कोसेली

साइकलको समाजशास्त्र

- तारालाल श्रेष्ठ

 

विश्व साइकल दिवसको संघारमा साइकल हाँकिहिँड्दा मनमनै प्रश्न गर्छु– जुन देशमा राष्ट्रिय साइकल दिवस मनाइन्न त्यस देशमा अन्तर्राष्ट्रिय साइकल दिवस मनाउनुको मतलब के ? एक सामाजिक वैज्ञानिक प्राध्यापकले भुइँतहबाट हाँकेको समाजशास्त्रीय अभियानलाई संयुक्त राष्ट्रसंघले कसरी विश्व साइकल दिवसको मान्यता दियो ? शताब्दियौँदेखि मानव जीवनमा व्यापक प्रभाव पारेको बहुआयामिक विशिष्टतम साइकल संस्कृतिबारे नेपाली साइकल अभियानकर्ताको बुझाइ कस्तो छ ? आफ्ना अनुभव, अनुभूतिका आधारमा यी प्रश्नको उत्तर खोज्नु यस आलेखको अभीष्ट हो ।

विश्वविद्यालयमा साइकल समुदाय
साइकल आविष्कारले विश्वजगत्मा आमूल प्रभाव पारेको दुई शताब्दी नाघिसक्यो । आफ्नो कर्मथलो त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा साइकल समुदाय सिला खोज्नुपर्ने अवस्थामा छ । हामीले साइकल संस्कृतिको बहुआयामिक सौन्दर्यबारे विश्वविद्यालयभित्र अलिकति बहससमेत चलाएका छैनौँ । पाठ्यक्रममा साइकल शिक्षा प्रवेश गराएका छैनौँ । साइकल पूर्वाधार प्राथमिकतामा परेकै छैन । एकाध प्राध्यापक नियमित साइकलमा विश्वविद्यालय आउँछन् । साइकल हाँक्ने प्राध्यापकमाथि साइकल नहाँक्ने प्राध्यापकबाट हस्सीमजाक, हुमिलियट हुनेगर्छ । नियमित साइकल हाँक्नु राम्रो भन्ने प्राध्यापकहरू पनि ‘सडकमा यस्तो छैन, उस्तो छैन, सरकारले पहिले यस्तो गरिदियोस्, उस्तो गरिदियोस्, अनि साइकल हाँक्छु’ भन्छन् । नेपाल प्रहरीका सक्रिय साइकले एसएसपी सञ्जीव शर्मा भन्छन्, ‘बहाना नबनाऔँ, जस्तो छ त्यस्तै सडकमा पेडल पेलौँ ।’
विश्वविद्यालयमा साइकल साथी खोज्छु । कोही देख्दिनँ, भेट्दिनँ । विश्वविद्यालय बाहिर बरु साइकल साथी प्रशस्तै छन् । विश्वविद्यालयको कक्षाकोठाका झ्याल–ढोकासम्म यान्त्रिक साधनको लाइन हुन्छ । साइकल पार्किङ कहिँकतै छैन । पर्यावरण साहित्यमा विद्यावारिधि गरेका मेरा विभागीय प्रमुखलाई साइकल स्ट्यान्ड स्थापना गर्न डेढ वर्षअघि निवेदन दिएको थिएँ । आफैं दाता खोजेर साइकल स्टयान्ड राख्छु पनि भनेँ । त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा एउटा साइकल
स्ट्यान्डसम्म छैन । अन्य पूर्वाधारको कुरै नगरौँ । त्रिवि केन्द्रीय कार्यालयमा सौन्दर्यकरणका कामहरू भइरहेको देख्छु । पैदलमार्ग, प्रतीक्षालय, आकर्षक गेट बन्दै छन् । साइकल पूर्वाधारतिर ध्यान पुगेको देख्दिनँ । स्वास्थ्य, वातावरण, खेलकुद, भाषा, साहित्य, कला, संस्कृति, समाजशास्त्र आदि विषयमा विद्यावारिधि गर्ने प्राध्यापकहरू पनि कार–क्रेजी देख्छु । विद्यार्थीको ब्लडमा समेत कार–बाइक पसिसक्यो । कार–बाइककै (कु)लततिर सामाजिक वैज्ञानिकहरू पनि फसिसके । साइकल दिवससमेत विश्वविद्यालयभित्र मनाउन सक्ने अवस्था छैन ।
त्रिविमा साइकल संस्कृति स्थापना गर्ने धोको अधुरै छ, जहाँ साइकल समुदाय यत्रतत्र भेटियोस् । साइकलमैत्री स्वैरकल्पनामा वर्षैदेखि डुबिरहेछौँ । त्रिविका उपकुलपति, रेक्टर, पदाधिकारी, डाइरेक्टर भेटिरहेछौँ, साइकल संस्कृति स्थापनाका सपना सुनाइरहेछौँ । त्रिविलाई साइकल संस्कृतिले सहजै सजाउन सकिन्छ । साहित्य, कला, संगीत, जीवन, जगत्, संस्कृति, प्रकृति सबैसँग साइकलको समाजशास्त्र जोडिन्छन् । साथीहरू साइकलमा स्विच हुँदै हुन्नन् । नयाँ कार–बाइकका ब्रान्डहरूबारे चर्चा चल्छ । साइकलको ब्रान्डहरूबारे बोल्दै बोल्दैनन् ।
तराईमा फिट हुने साइकल पहाडमा फिट हुन्नन् । जहाँतहीँ माउन्टेन बाइक–साइकल चाहिन्न । सही हो, तराईमा सामान्य साइकल ठीक होला । कसैले अत्याधुनिक साइकल हाँक्छन् भने किन टाउको दुखाउनु ? साइकलै त हो, जस्तो हाँके पनि । जसले इन्धन बाल्नुको साटो बोसो पगाल्छ । समाजमा सौन्दर्य थप्छ । बरु हामी अलिकति व्यक्तित्व विकास गर्नेबित्तिकै कार कल्चरकै सपना किन बोकिबस्छौँ ? गोल्ड मेडलिस्ट, विद्यावारिधि डिग्रीधारी, लब्धप्रतिष्ठित प्राध्यापक पनि किन कारक्रेजी बनिरहेछौँ ? शिक्षित, दीक्षित, सफल व्यक्तित्वको पहिचान जमिन छोड्न होइन, जरासँग जोडिन पो होला । विश्वविद्यालयले जरासँग जोडने, जल, जमिन, जंगलसँग सम्बन्ध नतोड्ने ज्ञान पो दिनुपर्ने होइन ? साइकल हाँक्दै गर्दा यस्ता विचारहरू साइकलको गतिसँगै सलबलाइरहन्छन् ।

आशाका आभाहरू
गत हप्ता त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले बोलायो । आगजनीबाट युनियन भवन ध्यस्त भएको थाहा थियो । नयाँ स्ववियु कार्यालय स्थापना भएको थाहा थिएन । युनियन अफिस खोज्दै साइकल हुइँक्याएर पुगेँ । साइकल संस्कृतिबारे बहस गर्न समय मिलाइएको रहेछ । नियमित साइकल नहाँक्ने विद्यार्थीमाझ सधैँ साइकल हाँकिहिँड्ने शिक्षकको प्रस्तुति विशिष्ट थियो । कीर्तिपुरमा साइकल घोषणापत्र कार्यशाला भएको केही विद्यार्थीलाई थाहा थियो । केही विद्यार्थी उम्मेदवारले निर्वाचनका बेलामा त्रिवि, कीर्तिपुरलाई साइकल संस्कृतिले सजाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूमध्ये केहीले चुनाव जितेछन् । तीन जना विजेता अंग्रेजी केन्द्रीय विभागकै रहेछन्, अध्यक्षसहित, जसले त्रिविमा साइकल संस्कृति विकासबारे बहस चलाउन खोज्दै छन् । गत महिना प्रिन्सिपल कार्यालयले पनि त्रिविमा साइकल संस्कृति स्थापनाको सम्भावनाबारे औपचारिक बहस गरेको थियो । प्राध्यापकहरूले त्रिविलाई साइकल सौन्दर्यले सजाउने प्रक्रियाका जटिलता र सम्भाव्यताबारे महत्त्वपूर्ण सुझाव दिनुभएको थियो । आफ्नो मातृसंस्थामा मुठीदानबाट साइकल पूर्वाधार बनाउने सपनाले हामीलाई हौस्याइरहेको छ । अझ अघि साइकल संस्कृतिबारे कुरा गर्न भीसी सरलाई भेटेका थियौँ, रेक्टर सरसहित । भीसी सरले त्रिविको बेथिति तथा नयाँ काम थाल्दाका सकस सुनाएका थिए । यद्यपि त्रिविलाई साइकल संस्कृतिले सजाउन सकिन्छ । हामीले हिम्मत हारेनौँ, हिम्मत हार्दैनौँ । हामी परामर्शदाता होइनौँ । साइकल अभियानमा समर्पित निस्वार्थी अभियानकर्मी हौँ । साझा अभियानको आधारपत्रसहित साइकल कानुनको माग गर्दै अभियानमा अघि बढ्दै छौँ । अन्ततः स्ववियुसमेत साइकल संस्कृतिमा सकारात्मक देखिँदै छ । साइकल राइडमा विश्वविद्यालयबाहिर जान्छु, टुँडिखेलदेखि धुलिखेलसम्म । सयौँ साइकल साथीहरू महिला, पुरुष, युवा, ज्येष्ठ नागरिक सराबरी पेडल पेलिरहेछन् । इलामदेखि रारा, काठमाडौँदेखि लुम्बिनी अनि कुशीनगर पुगेका छन्, साइकलमा । टीयू टु केयू राइडसहित कार्यशाला गर्ने सोच्दै छौँ । मेचीदेखि महाकाली साइकलमा घुम्दै छौँ । अनगिन्ती साइकल साथी भेट्दै छौँ । कबाडीवाला साइकल समुदाय नै लाखौँ रहेछन्, नेपालमा । तराईतिर साइकल जीवन जिउने आधारशिला हो । विविध स्वरूपका सक्रिय साइकल समुदाय देखेर चकित हुन्छु । अनि त्रिविका बौद्धिक समुदाय सम्झन्छु । युवा विद्यार्थी–प्राध्यापकसँग केही किलोमिटर पेडल पेल्ने जुनुन छैन् । बटुकाझैँ उपत्यका मानव बस्न नसक्ने गरी प्रदूषित भइसक्यो । साइकल अभियानकर्मी थाकिसके । स्वदेशमा हराएको सपना विदेशमा खोज्न तम्सँदै छन् । आफ्नै गाउँघर, सहर सजाउने सपना हाम्रो विश्वविद्यालयले देखाउनुपर्छ । प्राध्यापक लेस्जेक सिविल्स्कीले समाजशास्त्र कक्षाको भुइँतहबाट अभियान हाँकेर विश्व साइकल दिवस स्थापित गरे । हामीले हाम्रो विश्वविद्यालयबाट कम्तीमा राष्ट्रिय साइकल दिवसको मार्गप्रशस्त त गर्न सक्छौँ । हाम्रा सम्पदा सहरहरूले साइकल संस्कृति कुरिरहेछन् । साइकल सौन्दर्यका विषयले हाम्रा विश्वविद्यालयभित्र प्रवेश पाएमा नेपाली साइकल अभियानमा आभा थपिने छ ।

साइकल अभियानको अन्तर्य
विश्वमा सन् १८०० को सुरुवातबाटै साइकल आविष्कारमा विभिन्न प्रयोगहरू भए । एकपछि अर्को नयाँ आविष्कारले आमजनलाई थप लोभ्याउँदै लग्यो । सन् १८६० र ७० को दशकदेखि विश्व बजारमा बाइसाइकल बुम भइगयो । सुरुमा केही चटकी साहसिक खेलाडी पुरुषको माझमा मात्रै सीमित साइकलमा नवीनता थपिँदै गयो । साइकल क्रमशः आमजनको जनजीवन जीविकोसँग जोडियो । सन् १९८५ देखि साइकल केटाकेटीदेखि बयस्क, ज्येष्ठ नागरिक सबै तहतप्काको अभिन्न अङ्ग बन्यो । तर, साइकलयात्रीले सुरुबाटै विभिन्न अवरोधहरू सहनुपर्‍यो । सडकमा साइकल हुइँकिन थालेपछि घोडाघोडी, गोरुभैंसीहरू तर्सिए । साइकल प्रयोगविरुद्ध आवाज उर्लियो । साइकल प्रयोगकर्ताले धेरै पटक पिटाइ पनि खाए । पैदलयात्रीले समेत साइकलबाट अवरोध बोध गरे । गाडाबग्गी, भरिया, पैदले सबै मिलेर साइकल प्रयोगकर्ताविरुद्ध उजुरी गरे । कतिपय सार्वजनिक स्थलहरूमा साइकल हाँक्न रोक लगाइयो ।
यद्यपि, साइकलको उपयोगिता मानव समाजमा कहिल्यै कम भएन । विश्व जगत्मा क्रमशः साइकल कानुन बन्न थाल्यो । साइकल प्रयोगमा ऐनकानुनबाटै प्रोत्साहन बढ्यो । आजभन्दा एक सय ५० वर्ष अघिदेखि साइकल प्रयोगलाई प्रोत्साहन कि निरुत्साहित गर्ने भन्नेबारे विविध कोणबाट बहस भए । सन् १८८० देखि साइकल संस्कृतिलाई संरक्षण प्रवर्द्धन गर्न संगठित रूपमा साइकल अभियन्ता एकताबद्ध बने । साइकल पूर्वाधार विकास तथा ऐनकानुन निर्माणमा उनीहरू लगातार हातेमालो गर्दै समर्पित छन् । त्यही बेलादेखि युरोअमेरिकी मुलुकहरूमा आइतबार चर्चमा प्रार्थना गर्न जाँदा अत्यधिक साइकल प्रयोग हुन्थ्यो । पादरीहरू पनि उही समयदेखि साइकल हाँक्न थाले । शासकहरू साइकलाई प्रेम गर्न थाले । घोडाबग्गी सवारीको साटो सम्भ्रान्तहरू साइकल हाँक्न थाले । सर्वसाधारण जनजीविकोपार्जनको साधनका रूपमा साइकल प्रयोग गर्न थाले । सिपाहीहरू साइकल प्रयोगबाट बढी प्रभावशाली ढङ्गले युद्धमा होमिए । आममानिस साइकलतिर आकर्षित भए । मानव समाजमा साइकल आविष्कारले निकै ठूलो हलचल ल्यायो ।
मान्छेहरूले साइकल संस्कृतिविरुद्ध अफवाह फैलाउन थाले– साइकल बढी हाँक्दा छिटै रोगी भइन्छ, फोक्सो, घाँटी, घुँडा, कम्मरमा समस्या हुन्छ, छिटै मृत्यु हुन पनि सक्छ, लामो समयसम्म पेडलिङ गरिरहदा शरीरै बाङ्गिन्छ । साइकलयात्रीहरू निरोगी पो देखिन थाले । नियमित साइक्लिङले बाथरोग, अपच, अनिद्रा, अरुचि, लिभर तथा नसाको समस्यादेखि धूमपान मध्यपानको कुलतसम्म कम भएको भेटियो । मेडिकल एकेडेमीका चिकित्सकहरूले सन् १८९५ मै साइक्लिङ गर्नेहरू साधारणत बढी स्वस्थ्य–स्फूर्त पाइएको घोषणा गरिदियो । साइक्लिङले शारीरिक मात्रै नभई बौद्धिक मानसिक स्वास्थ्य समेत सुध्रिएको देखायो । साइक्लिङ व्यायामका लागि सबैभन्दा उत्तम साधन सिद्ध भयो । जब स्वास्थ्यविद्हरू साइकलको पक्षमा तथ्यसहित बोल्न थाले तब साइकलविरोधीको बोली बन्द भयो ।
गतिशीलता अब सम्भ्रान्तको सोखको विषय मात्रै रहेन । दमित वर्गसमेत साइकलमा सवार हुन थाले । महिला समुदायले साइकललाई स्वतन्त्रताको विम्बै बनाए । प्रतिरोधको लडाइँ लड्ने माध्यमका रूपमा साइकल प्रयोग हुन थाल्यो । महिलालाई बन्धनमा राख्ने ड्रेसकोड, कठोर मूल्यमान्यताका पर्खालहरू साइकलले भञ्जन गरिदियो । साइकलले महिलाको पहिरनमै पूरै परिवर्तन ल्याइदियो । साइकलबाटै काममा जाने, अफिस आवतजावत, जीविकोपार्जन चल्न थाल्यो । गोजी रित्तै हुनेहरू पनि परपरसम्म साइकलमा सित्तैंमा सवार हुन थाले । राम्रो शिक्षा, जागिर, रोजगारी, व्यापार गर्न परपरसम्म बिनाखर्च साइकल सवारीले सम्भव बनायो । नयाँ स्थान, जनजीवन, वातावरण बुझ्न साइकलले सघायो । साइकलले गतिशीलतासँगै विश्वदृष्टिबारे जानकार गरायो । संगठित भईकन आफ्नो अधिकार खोज्न साइकलले मद्दत गर्‍यो । साइकल भेलाबाट सामाजिक न्यायका नारा घन्किन थाल्यो ।

जाँदाजाँदै
नेपालमा भर्खर सामूहिक साइकल भेलामार्फत अधिकारका कुरा उठ्दै छ । मौलिक सौन्दय संरक्षणका कुरा केन्द्रमा आएको छ । जल, जमिन, जंगलको रक्षार्थ बोल्ने आधार साइकल संस्कृति बनेको छ । सहरहरू साइकल संस्कृतितिर फर्किंदै छन्, साइकलको समाजशास्त्रबारे अनुसन्धान आविष्कारसहित । कतिपय वैज्ञानिकको तर्कमा साइक्लिङले मानव डीएनएकै केही क्षेत्रमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको देखिन्छ । अन्ततः विविधताले सम्पन्न विशिष्टतम नेपाली साइकल अभियानकर्मी साइकल अभियानमा होमिएका छन् । साइकल कानुन, साइकल शिक्षा र साइकल पूर्वाधारमा नेपाल बामे सर्दै छ । आशा गरौँ, अब हाम्रा विश्वविद्यालयले समाज र शिक्षालयबीच विद्यमान खाडल पुर्दै साइकल संस्कृति अभियानलाई सघाउनेछ । विश्वविद्यालयभित्र साइकल दिवस मनाउने वातावरण बन्नेछ ।
(लेखक अंग्रेजी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन्)

Page 11
कोसेली

चराहरूलाई मोज छ

- गनेस पौडल

 

प्रिय विपश्वी,
गुरु खिन्से नोर्बु रिम्पोछेको फिल्म ‘डाकिनी’ हेरेपछि यो पत्र लेख्दै छु । यति लामो अन्तरालपछि लेख्दै छु कि नेपाली ‘फन्ट’ मा लेख्दा निश्चित अक्षर र चिह्नका लागि कम्युटरमा राखेका ‘सर्टकट की’ के–के थिए भन्ने बिर्सिसकेको रहेछु । मलाई घरी ‘ङ’ ले अड्काउँथ्यो घरी ‘विष्मयाधिबोधक’ ले । घरी आधी ‘र’ ले रन्थन्याउँथ्यो घरी पूरै ‘फ’ ले फसाउँथ्यो । ‘फन्ट’ सँग अड्किरहनुपरेपछि सोचेँ– लुते कुरामा अड्केर बस्नुभन्दा नयाँ बनाउनु ठीक ।
लगत्तै अप्राप्य अक्षर र चिह्नका लागि नयाँ ‘की’ ‘असाइन’ गरेँ र लेख्न बसेँ । सुरुमा सोचेको थिएँ, मलाई नयाँ ‘की’ हरूमा बानी पर्न समय लाग्नेछ । तर, अनजानवश नै सही मैले तिनै ‘की’ लाई ‘असाइन’ गर्न पुगेको रहेछु, जसलाई मैले पहिल्यैदेखि राख्दथेँ, जान्दथेँ । चित्तको निरन्तरता सायद यस्तै केही हुनुपर्छ । सिनेमाको अन्तिम दृश्यमा कुन्सेलले भनेको संवादजस्तो सायद म मेरा अक्षरका साँचाहरूलाई हजारौं वर्षदेखि जान्दछु ।
हुन पनि म मेरै चित्तको सन्तान हुँ । म मेरै अतीतको वर्तमान हुँ । म मेरै आगोको प्रकाश हुँ । म मेरै पैतालाको पदचाप हुँ । तर, पनि म केही होइन, कोही होइन । तिमीजस्तै म पनि ‘हेमा हेमा’ को १२ बर्षे फरेस्ट क्याम्पमा मुकुन्डो लगाएर रहस्यमयी अभ्यास गरिरहेको एक आम मनुवा हुँ । यो सायद कुनै ‘रिडल’ जस्तो कुरा भयो, भुलभुलैया कुरा । भुलभुलैयालाई सुल्झाउनजस्तै अस्तित्वलाई महसुस गर्न पनि एकमुस्ट हुनुपर्दो रहेछ । टुक्राटुक्रामा बाँडिएको चपल बचाइले अस्तित्व अनुभूत नहुने रहेछ, जसरी कोठाकोठाको अलगअलग अवलोकनले भुलभुलैयाको बाटो नपहिलिने रहेछ ।
सम्भवतः डोल्पाको फोक्सुन्डो ताल पुगेर ‘कान्तिपुर’ मा लेखेपछि मैले अर्को केही लेखेको छैन । तिमीलाई थाहै छ, फोक्सुन्डो पारिपट्टिको थासुङछोलिङ गुम्बाको गर्भगृहभित्रका प्राचीन बुद्धमूर्तिहरू देखेपछि मलाई अनौठो स्मृतिझैं भएको थियो । यस्तो लागेको थियो, मलाई यहाँका हरेक कुराहरू पहिल्यैदेखि थाहा छ । यहाँको हावाको सुगन्ध, बतासको स्पर्श, पानीको स्वाद सबै थाहा छ । म यहाँका बूढा रूखहरूमुन्तिर पहिल्यै छहारी बसिसकेको छु । सयौं वर्ष पहिल्यै यहाँका सुकिला चट्टानमा लमतन्न सुतेर मध्यदिनको घाम तापेको छु । मलाई पुनर्जन्मको फिल्मी यादजस्तो भएको थियो । मलाई यस्तो लागेको थियो, म अघिल्लो कुनै जन्ममा कठोर नाउर सिकारी थिएँ, तर अचानक तिमीसँगको संसर्गको संयोगले भिक्षु भएको थिएँ । डोल्पा गएपछि मलाई यस्तो महसुस भएको थियो– म हजारौं वर्षदेखि बौद्धमार्गी थिएँ । र, घर फर्केर मैले ‘वोन्पो थलोको यादमा’ लेखेको थिएँ ।
मलाई यस्ता अनर्गल र अनकन्टार स्मृतिहरू भइरहन्छन् । थाहा छैन त्यो खासमा कुनै स्मृति थियो, या फगत मेरो दिवासपना । अथवा कुनै कल्पना पो थियो कि ! तर, डोल्पा गएर फर्केपछि म अर्को कुनै पहाड चढ्न नसक्ने गरी थन्किएँ । मेरो दुवै घुँडाको ‘मिनिस्कस’ च्यात्तियो र जटिल शल्यक्रिया नै गर्नुपर्यो । विजयपुर र सेतीका भीर, गल्छेडाहरूमा फड्को मारिरहने मान्छे, फेवा र वेगनासमा आरपार पौडेर पनि नथाक्ने मान्छे, हरेक वर्ष २–३ पटक ‘ट्रेकिङ’ जाने मान्छे, ब्याडमिन्टन भनेपछि हिरिक्क हुने मान्छे, अब मेरो चहलपहलमा ब्रेक लागेको थियो । आजकल सामान्य गतिमा हिँड्नबाहेक अरू केही गर्न हुँदैन, दौडिन हुँदैन, उफ्रिन हुँदैन । एक घण्टाभन्दा धेरै उकालो चढ्न या ओरालो झर्न हुँदैन ।
आफ्नै खुट्टामा उभिनु र आफ्नै खुट्टाले यात्रा गर्नु अगल विषय रहेछन्, मानिस ! आजकाल म उभिन सक्छु, तर पदयात्रा गर्न सक्दिनँ ।
सुरुमा त मलाई खासै वास्ता भएन । सोचें,
आफ्नो भागको ब्याडमिन्टन खेलेँ । आफ्नो भागमा परेका पहाडहरूलाई पैतालाले नापेँ । आफ्नो बुताको उच्चतम गतिमा दौडिएँ । आफ्नो लचकताको ‘लङ्जम्प’ देखाएर विजयपुर खोलाको फड्के फड्किँए ।
आफ्नो कर्मले नापेको फेवा र वेगनासमा पौडिएँ । सायद अस्तित्वले मेरो भागमा छुट्याएको ‘एडभेन्चर’ यत्ति थियो । चित्त बुझाएँ । तर, बुझाएर मात्रै चित्त नबुझ्ने रहेछ, मानिस । चित्त बुझाउनु र चित्त शान्त हुनु अगल परीक्षण रहेछन् । म बिस्तारै मानसिक रूपमा कुँजिन थालेँ । मलाई नजानिँदो डिप्रेसनले सुम्सुम्याउन थाल्यो । घुँडाको शल्यक्रियापछि शारीरिक पीडाबाट मुक्त भएको भन्ठानेको मलाई मानसिक पीडाले झन्झन् थिच्न थाल्यो । मलाई आफ्नै रुचिहरूमा रुचि हुन छोड्यो । पोखरामा हुने लगभग सबै खाले साहित्य–कलाका कार्यक्रममा शनैशनै अनुपस्थित हुन थालेँ । अत्यन्त सीमित मित्रहरू थिए मेरा, तिनै मित्रहरूसँगको भेटघाट पनि पातलिँदै गयो । किताब किन्नै छोडेँ, किनेकालाई पढ्न । सिनेमाघर नपुगेको वषौं भयो । नेटफ्ल्क्सि र अमेजनका ‘आइडी’ हरू नवीकरण नै भएनन् । फेसबुक, ट्वीटरलगायतका सबै सामाजिक सञ्जालका पोस्टहरू सिनित्तै डिलिट गरिदिएँ । सायद मलाई लोकसँग कुनै संवाद गर्नै थिएन ।
डिप्रेसनले गाँजेका बेला अरूलाई दोष थोपर्ने स्वभाव हुँदोरहेछ, मानिस । मान्छेले आफूलाई बुझेनन् भन्ने पिरलो हुँदो रहेछ । देश खत्तम भयो भन्ने आक्रोश अझ बढ्ने रहेछ । त्यही आक्रोशको झोंकमा मैले अनेकानेक राष्ट्रवादी ‘पोस्ट’ गरेँ र तु–का–तु ‘डिलिट’ गरेँ । अनेकानेकलाई अनुमानबेगरका अनलाइन ‘म्यासेज’ पठाएँ र उत्तिन्खेरै ‘अनसेन्ड’ गरेँ । सात जन्मको सम्बन्ध नभएका अनजान मान्छेलाई फेसबुके साथी बनाएँ र अकारण ‘अन्फ्रेन्ड’ गरेँ ।
बैचैनीको यो हद सायद ७ दिनपछि मर्छौ भनिएको तेन्जिङलाई मात्रै थाहा छ ।
ल ल ल
‘मोह’ बडो ताज्जुबको विषय हुँदो रहेछ, मानिस ।
जस्तो कि मैले भनेकै यो वाक्यलाई हेर– ‘मलाई आफ्नै रुचिहरूमा रुचि हुन छाडेको थियो ।’ तर, के आफ्नै अभिरुचिमाथिको अरुचि पनि एक त्याग हो ? के जन्मजात भेजिटेरियनहरूले मासु ‘छोडेका’ हुन्छन् ? के जिब्रोमै रक्सी नपरेकाहरूले रक्सी ‘त्याग’ गरेका हुन्छन् ? कुनै एक छाकमा घिरौंला असाध्यै मन परेपछि त्यसपछिका हरेक छाकमा घिरौंला खाँदाखाँदा घिरौंलाले उल्टै नाक लागेर जिन्दगीभर घिरौंला खान छोडेका मान्छेहरू के घिरौंलाभन्दा माथि उठेका हुन्छन् ?
‘उठेकै’ भए पनि त्यस्तो घिरौंले निर्वाणको मूल्य के ? अनुरागको असीम अनुभवबिना, भोगको सीमाहिन स्वादबिना त्यागको कुनै घनत्व नहुने रहेछ, मानिस ।
तर, कतिपय मान्छेहरू मुक्तिनाथ पुगेर पनि त्यही खानेकुरा छोड्ने वाचा गर्छन्, जो उनीहरूलाई मनै पर्दैन । कत्तिले त कहिल्यै जिब्रोमा नपरेको खानेकुरालाई समेत ‘छोडेर’ आउँछन् । यो कस्तो छोडाइ हो, मानिस ? कस्तो त्याग हो ?
विश्वास मान, मैले त्यस्ता धेरै बगरेहरू देखेको छु, जो आफैंले मासु खाँदैनन् । प्राणीप्रतिको अप्रतिम करुणाबिना ‘भेजिटेरियन’ हुनुको कुनै अर्थ हुन्छ त ?
ल ल ल
जिन्दगीका आ(–आफ्ना लय हुन्छन् । सफलताका आ–आफ्ना सहायक र बाधक हुन्छन् । कसैलाई कफीको एक सर्को स्वाद अथवा एक हरक बास्ना मात्रैले निर्वाणको आनन्द प्राप्त हुन सक्छ । कसैलाई ‘डाकिनी’ को एक धर्को अँगालो मात्रैले समेत बुद्ध बनाइदिन सक्छ । शीलका पनि आ–आफ्नै स्वरूप हुन्छन् । जसरी त्यागका
आफ्ना ‘विषय’ हुन्छन् ।
गुरुहरू भन्छन्– एउटालाई दिएको शिक्षा अर्कोलाई काम लाग्दैन । एउटालाई सुनाएको मन्त्र अर्कोलाई अर्थ हुँदैन । एउटाले हिँडेको बाटोले अर्कोलाई पार लाग्दैन ।
टुल्कु कुङ्जागले भनेकै छन् सिनेमामा, ‘सिरियल्स खाएरै मेरो बाल्यकाल बित्यो । मेरो निर्वाणमा सायद यही अन्नको पिठो अन्तिम बाधक हुनेछ ।’
‘जाबो सर्वोत्तम पिठोप्रतिको आसक्ति कोही कसैको निर्वाणमा बाधक कसरी हुन सक्छ ?’, तिमीले सम्भवतः यस्तै केही सोचेका हुन सक्छौ । प्रिय विपश्वी, तर आशक्तिको कुनै स्वरूप नहुँदो रहेछ । मोहको कुनै निश्चित वस्तु र विषय नहुँदो रहेछ ।
ल ल ल
मैले कतै पढेको एउटा कथामा एक जना बुद्धपुरुष प्रवचनमा भन्दै थिए– ‘तिमीले जे काम गरिरहेका छौ, त्यही कामलाई सचेततापूर्वक गर । होसपूर्वक गर । होसपूर्वक गरिएको तिम्रै कामले तिम्रो निर्वाण हुनेछ ।’
तर, त्यही सभामा एउटा चोर पनि थियो । उसले डराईडराई बुद्धलाई सोध्यो, ‘भगवान्, म त चोर हुँ । चोरी नगरी मेरो गुजारा चल्दैन । के चोरी गरेरै पनि मेरो निर्वाण हुन सक्छ ?’
बुद्धले भने, ‘सक्छौ । तर, अबको पटक चोरी गर्दा होसपूर्वक गर्नू । काम गर्दाका बखत त्यही कामलाई मनमनै कथ्नू कि म चाबी फोर्दै छु । म बाकसको ढोका खोल्दै छु । म गहना–पैसा निकाल्दै छु... । एवम्रीतले तिमीले गर्ने सानाभन्दा साना कामलाई होसपूर्वक मनन गर्दै गर्नू ! तिमी पनि एक दिन बुद्ध हुनेछौ ।’
सही र गलत भन्ने शब्द आफैंमा सांस्कृतिक भ्रमहरू हुन् । मान्छेका रचना मात्रै हुन् । वर्तमानको मूल्यमा न कुनै चीज सही छ, न गलत । विराट अस्तित्वको अघिल्तिर हाम्रा सहीहरूको, हाम्रा गलतहरूको कुनै मूल्य छैन । देखेकै छौ, कसरी वामाचारीहरू पञ्च मकारकै प्रयोगले सिद्धिको बाटो खोज्छन् । मैथुन, मद, माँस, मत्य, मुद्राको प्रयोगलाई वर्जित गर्दैनन् बरु प्रोत्साहित गर्छन् । सोच त, बृद्ध वामाचार्यले सिनेमाको तेन्जिङलाई कुनै स्त्रीको समान चोर्ने उपाय किन दिए ? अनजान स्त्रीलाई उटपट्याङ उपहार दिन किन उक्साए ?
प्रिय मानिस, चाबी फोर्नू, सेफको ढोका उघार्नू, गहना निकाल्नू, झोलामा हाल्नू, बिस्तारै बाहिर निस्कनू... वर्तमानको बगलमा न गलत काम हो न सही । यो त साधना मात्रै हो । जागरणको यात्राविन्दु हो । विपश्यना हो ।
कहिलेकाहीं संस्कृति बडो खतरनाक वाधा भइदिन्छ अध्यात्मको । संस्कृति खासमा त्यस्तो भर्‍याङ हो, जसले तिमीलाई अध्यात्मको खुड्किलो टेकाएर निर्वाणको तलोमा पुर्‍याउँछ । तर, अधिकांश मान्छेले संस्कृतिको भर्‍याङ त हाल्छन्, तर तलो उक्लिन बिर्सिन्छन् । कतिले भर्‍याङ पनि चढ्छन्, तर तलामा उत्रिन बिर्सिन्छन् । पूजा–पाठ गर्छन, दान–धर्म गर्छन्, धूप–दीप जलाउँछन्, ध्यान–तप गर्छन् । मन्दिर र गुम्बा बनाउँछन् । मूर्ति कुँद्छन् । चाडबाड मनाउँछन् र बिस्तारै त्यसैमा भुल्छन् । यसरी संस्कृतिका उपासकका लागि बुद्ध भनेको एउटा काँशको मूर्ति मात्रै भइदिन्छ । धर्म भनेको विश्वास र कतिपय सन्दर्भमा त अन्धविश्वास मात्रै भइदिन्छ । परम्परा भनेको रीतिरिवाज मात्रै भइदिन्छ । संस्कार र चाडबाडमै मान्छेको धर्म सिनित्त भएर रित्तिन्छ ।
तिमीले हेरेकै हुनुपर्छ रिम्पोछेकै अर्को ‘मास्टरपिस’– ‘यात्री अनि जादुगरहरू’ (ट्राभरलर्स एन्ड मजिसियन्स) । आफ्नै तानाले बुनिएका सपनाको संसारमा बाँच्दाको दुःखान्तको यात्राकथा । कथा भन्छ, गन्तव्यको बोधजस्तै महत्त्वपूर्ण छ यात्राको सचेतता । संस्कृति भनेको यात्रा मात्रै रहेछ, मानिस । यात्राको सचेतताबिना गरिने हिँडाइले कतै नपुगिने रहेछ । वामाचारीहरू भन्छन्– सचेततासहित गरिएको चोरीले पनि मान्छेलाई बुद्ध बनाइदिन सक्छ । उसो त आम मान्छेहरू त्यतिबेला मात्रै सबैभन्दा सचेत, सबैभन्दा ध्यानी, सबैभन्दा सम्पूर्ण हुन्छन्, जतिबेला उनीहरू ‘चोरी’ गरिरहेका हुन्छन् ।
प्रिय मानिस, तिमीले पनि त धेरै कुरा चोरेको हुनुपर्छ जिन्दगीमा । सम्झना गर त । कसैले देखिहाल्ला कि भनेर कसरी छिमेकीको करेसाबाट काँक्रा टिपेकी थियौ ? अम्बा या सुन्तलाका रूख चढेकी थियौ ? कसरी खुसुरखुसुर खोस्रेर बारीको बदाम उखेलेकी थियौ ? उखुको लाँक्रा भाँचेकी थियौ ? अथवा आमाको गोप्य तखताबाट पीपलगेडी खाने पैसा निकालेकी थियौ ? अथवा आफ्नो प्रेमीको स्कुल ब्यागमा सुटुक्क प्रेमपत्र खसालेकी थियौ ?
चोरी एक कला मात्रै होइन चित्त वृत्तिको एक उपकरण पनि हुन सक्ने रहेछ, मानिस ।
ल ल ल
जसरी तिम्रो जिन्दगी अरू कसैले बाँचिदिन सक्दैन उसैगरी तिम्रो सफलतालाई अर्कोले दिलाउन सक्दैन । कुनै जादुगर आएर तिम्रा समस्याहरूको हल गरिदेला भन्नु बेक्कारको आशा मात्रै हो । तिमीलाई कसैले तार्न सक्दैन । अध्यात्मको यात्रामा कुनै वैतरणी नदी हुँदैन, जसलाई कुनै कामधेनुको पुच्छर समातेर तर्न सकियोस् ।
‘अरूले के भन्लान् ?’ दुनियाँको यस्तो दकस हो, जसले मान्छेलाई कहिल्यै स्वतन्त्र हुन दिँदैन । विचार, व्यवहार र सम्बन्धको एउटा यस्तो बन्धन हो, जसलाई तोडिहिँड्न हतपति कसैले सक्दैन । हरेक मान्छे कुनै न कुनै स्वरूपको ‘सङ्क कस्ट फ्यालेसी’ ले ग्रस्त हुन्छ ।
सधैँ टाई–सर्टमा सुकिलो देखिने कथाको तेन्जिङ नगरकोटीको जस्तो फ्याङ्ले पाइजामा लगाएर आउँदा, कथाकै रवीन्द्रले सोध्छ– के पोसाक लगाएको यस्तो ?
मनको दकसबाट मुक्त नभइकन मान्छे उन्मुक्त हुन सक्दैन । उन्मुक्त नभएको मान्छे मुक्त हुन सक्दैन ।
तिमीलाई घरीघरी झोंक चल्ला कि म पनि भिक्षुणी भैदिऊँ र अनकन्टार पहाडको कुनै गुफामा गुमनाम बाँचिदिऊँ । तर, मनमा सदैव एउटा सुषुप्त दकस छ, जसले तिमीलाई टाउको मुडुल्याउन दिँदैन । सुविधाको भूगोल र सम्बन्धबाट भाग्न दिँदैन । कहिलेकाहीँ तिम्रो मनमा पनि आउला, मेयर बालेनले सुकिला बनाएका नयाँ सडकका पेटीमा मदमस्त नाचिदिऊँ र अस्तित्वको उत्सव मनाऊँ ! तर, दुनियाँले के भन्ला भन्ने निन्याउरो धक छ । आफ्नो पहिचान नै नष्ट भइजाला कि भन्ने भय छ । कहिलेकाहीँ लाग्ला, जिन्दगीको चिस्यानबाट जुरुक्क उठूँ, लेकसाइड या ठमेलतिर प्रेमीसँग बरालिऊँ अनि जुनेली रातलाई साक्षी थापेर आवेगका पसिना काढूँ । तर, त्यस्तो गरे त नैतिकता नष्ट हुन्छ भन्ने पीर छ । जतनले जोगाएको संयम भङ्ग भइजाला कि भन्ने त्रास छ ।
भ्रमको अर्को नाम डर पनि हो, मानिस । त्यस्तै अनेकन् रहर र पीर कुनै बेला मलाई पनि थियो । यस्तै अनेकानेक रहर र डर मलाई अझै भइरहन्छ ।
खै किन हो एकथान मलमलको जुत्ता मात्रै बोकेर अनजान महिलालाई ‘मेरो कोसेली लिइदेऊ न !’ भन्दै हिँड्न सिनेमाको तेन्जिङले कसरी सक्यो ? शंख बाजालाई हत्केलामा राखेर कपडा धोइरहेकी गृहिणीलाई टक्र्याउने हिम्मत कसरी देखायो ? एउटी जानअनजान महिलालाई अर्थै थाहा नभएको मुद्राको भाषामा संकेत गर्ने तडी कताबाट आयो ? के म पनि त्यस्तो उटपट्याङ गर्ने हिम्मत गर्न सक्छु ? सायद सक्दिनँ । यसो गर्ने हिम्मत जुटाउन मलाई थाहा हुनुपर्छ कि म अबका ७ दिनभित्र मर्दै छु । टुल्कु खुङजाङले त्यसै त भनेनन्, ‘तिमीलाई जस्तै सबैलाई अबका ७ दिनभित्र मर्दै छु भन्ने थाहा भइदिने भए संसार कति सुन्दर हुन्थ्यो होला ?’ संसारलाई कुरूप बनाउनुमा मेरो पनि हात छ, मानिस ।
ल ल ल
लेखेर यहाँसम्म आइपुग्दा लेखक कुमार नगरकोटीको फोन आइपुगेको छ । एकाबिहानै आएको उनको फोनमा प्रायः कविता सुन्न पाइन्छ । यसपटकको कविता ‘यादहरूमाथि’ थियो । कुनै अनलाइन मिडियामा उनको भिडियो अवश्य आउला । सुन्नू !
कुमार दाइको कविता सुनेपछि लेखिरहन मन भएन । घरबाट निस्केँ । उसै पनि मेरो मर्निङ वाक सधैं ढिला हुन्छ, आज त ९ बजिसक्यो ।
चैते धान बयेँली परेका गाउँलेका खेतको बीचोबीच हिँडिरहँदा आकाशमा ‘डाकिनी’ को अन्तिम दृश्यमा जस्तै बकुल्लाहरू उडिरहेका थिए । तिनीहरू सोझै रूपाताल पुग्नेछन् । के थाहा ? मैदी या गुँदे पो जान्छन् कि ! चराहरूलाई पनि मोज छ ।
बौद्धमार्गीहरू मान्छन्, काठमाडौं डाकिनीहरूको रजगजको सहर हो । जब(–जब त्रिभुवन विमानस्थलको परिसरबाट लखरलखर बाहिर निस्कन्छु, आँखामा मर्करी–काँचले मोरिएको अग्लो न अग्लो एकसरो घर दृश्यमा आउँछ । बगलको कफी दुकान र भान्छाघर दृश्यमा आउँछन् । त्यो सम्झनाको गर्भगृहमा तेन्जिङले छोडेका केही शंखहरू छन्, झुम्काहरू छन् । रातो रंगले पोतिएको देब्रे ‘पैताला’ का दुई थान चित्र छन् । टेबलमा देव्रे पैतालाका लागि मात्रै टक्र्याइएको एकथान मलमलको जुत्ता छ । ‘तेन्जिङ’ ले चोरेर लुकाएका अनि निःसर्त फिर्ता गरेका यादहरू कोचिएको झोला पनि छ ।
मार्क ली पिङ बिङले खिचेको धुमिलो, कुहिरिलो, लामो निकै लामो यादको मौन दृश्य छ । तर्क र तथ्यभन्दा परको अदृश्य सत्य छ, सम्बन्ध छ ।
प्रिय विपश्वी, हरेक पटक काठमाडौं ओर्लंदा मलाई एउटा अप्रतिम आशा हुन्छ– यस पटक म पक्कै मेरो जिन्दगीको डाकिनी भेट्नेछु । तिमीलाई भेट्नेछु !

कोसेली

त्यसबखतको नेपाल–वृत्तान्त

- जनकराज सापकोटा


सन् १९४४ देखि १९५२ अवधिको नेपाली राजनीति, अर्थनीति, वैदेशिक सहायता र कूटनीतिबारे अमेरिकीहरूले कस्तो व्यवहार गरे ? कस्तो बुझाइ राखे ? कस्तो दृष्टिकोणका साथ सम्बन्धको विस्तार गरे ? यो बझ्न सघाउँछ– अमेरिकी अध्येता ड्यान इडवार्डस लिखित ‘अमेरिका मिटस
नेपाल ः प्रोब्लम्स, पर्सनालिटिज एन्ड पोलिटिकल चेन्ज’ किताबले । नेपाली राजनीतिका छिनाझपटीदेखि राणा दरबारभित्रको छलफलका विषय, तत्कालीन नेपाली समाजको सामर्थ्यदेखि २००७ सालको क्रान्तिमा भएको नेपाली कांग्रेसले गरेको गतिविधिमाथि अमेरिकी बुझाइ, काठमाडौंस्थित ब्रिटिस दूतावासको बुझाइ, भारतीयहरूको व्यवहार–बुझाइबारे पनि किताबले प्रकाश पार्छ ।
किताब नेपालमा अमेरिकी दूतावास नखुलिसकेको अवस्थामा दिल्लीस्थित अमेरिकी दूतावास र कलकत्तास्थित कन्सुलेटले नेपालको आन्तरिक राजनीति, छटपटी र परिवर्तनका यात्राबारे वासिङ्टन डीसीमा गरेको केवलहरूको संगालो हो । लेखक ड्यानले अनेकन् विषयमा छरिएर केवलका विषयलाई सिलसिलेवार गर्ने प्रयत्न गरेका छन्, जसले त्यतिबेलाका नेपाली समाजका नखुलेका अनेकन् पाटा खुलाउँछ । किताबले नेपाली राजनीतिको सीमा र सार्मथ्य मात्रै नभई हाम्रो जटिलता खासगरी भारतीय राजनीति, ब्रिटिस र स्वयं अमेरिकनहरूले कसरी बुझिरहेका छन् भन्ने पनि बुझाउँछ ।
पिसकोर स्वयंसेवकका रूपमा नेपाल आएर बसेका र त्यसपछिका वर्षहरूमा पनि नेपालका अनेकन् विषयमा अध्ययन अनुसन्धान गर्दै आएकाले होला ड्यान नेपाली समाजको भूराजनीतिक संवेदनशीलताबारे जानकार छन् । केवलहरूको व्याख्या गर्ने र त्यसलाई अन्य प्रसंगमा जोड्ने मामिलामा सचेत देखिन्छन् ।
काठमाडौं उपत्यकाबारे पुस्तकमा अनेकन् रोचक विवरण छन् । जस्तो काठमाडौंमा २५ माइल मात्रै मोटर गुड्ने बाटो थियो । किताबमा जुद्ध रोड आधुनिक भए पनि सर्वसाधारण जाने पसल सारै फोहोर हुने गरेको विवरण मात्रै छैन, यहाँ पाइने भारतीय कपडा, चुरोट, टिनबन्द खानेकुरा भारतमा भन्दा आधादेखि तीन गुणासम्म महँगोमा बेचिने तथ्य पनि उल्लेख छ । स्थानीय बस्ने घरहरूमा सरसफाइको सुविधा नभएको, तिनले धाराबाट पानी बोकर ल्याइरहेको दृश्य लेखिएको छ किताबमा । अधिकांश सर्वसाधरण स–साना कोठामा ६ देखि १० जनासम्म कोच्चिएर बस्ने, तर ३० देखि ४० राणा परिवार भने भिक्टोरियन शैलीका दरबारमा बस्ने गरेको उल्लेख छ । त्यस्ता घरमा भने आयातित घडी, सिसा र झुमर देखिने पनि उनले लेखेका छन् ।
अमेरिकीले नेपालसँग अन्तर्राष्ट्रिय वित्तीय कारोबारहरू गर्न सकिन्छ कि भनेर बुझ्न १९४७ मा एक जना अमेरिकी बैंकरलाई काठमाडौं पठाएको देखिन्छ । ती बैंकरले नेपालमा अनुमानित ७५ लाख रुपैयाँ नगद मात्रै बजारमा चल्तीमा रहेको र बहुसंख्यक सर्वसाधारण भारतीय रुपैयाँमा निर्भर रहेको रिपोर्ट पेस गरेका थिए । यो तथ्यले त्यतिबेलाको नेपाली समाजको आर्थिक मुहार बुझाउँछ ।
कलकत्तास्थित अमेरिकी कन्सुलेटमा कार्यरत हेलेन सेक्सटोन जुन १९४५ मा काठमाडौंस्थित ब्रिटिस लिगेसनको निम्तामा काठमाडौं आएका थिए । हेलेनले त्यतिबेला देखेको काठमाडौंको विवरण रोचक छ । जस्तो, उनी आएको बखत सिंगो नेपालमा जम्मा ९ जना गोरा युरोपियन थिए । उनले काठमाडौं सिंगो विश्वबाट एक्लिएर बसेको, बाहिरी दुनियासँग यसलाई कुनै मतलब नरहेको लेखकी छन् । तर, काठमाडौंमा सपिङ गर्दाको उनको रोचक अनुभव छ– फ्रेन्चदेखि इंग्लिस पर्फ्युम, साबुन र कस्मेटिक सामान, अंग्रेजीदेखि जापानी उलन र सिल्क, अमेरिकन हातेघडीदेखि भित्तेघडी, जर्मन उत्पादित घडी, चिनियाँ सिसाका सामान र अमेरिकी ब्रान्डेड चुरोटसम्म काठमाडौंमा पाइन्थ्यो ।
राणा खान्दानहरूले देशबाट उठ्ने सारा राजस्व आफैं राख्ने गरेको, देशैभरि उनीहरूका मौजाहरू भएको, छोटो दूरीको रोपवेदेखि रेलसेवाबाट उठ्ने रकम सोझै उनीहरूकहाँ नै पुग्ने गरेको र त्यही रकमबाट उनीहरूले विलासी जीवन जिउने गरेको तथ्य किताबमा छ । पुस्तकमा राणाजीहरूले आम्दानीको ठूलो हिस्सा भारत र इन्ग्ल्यान्डजस्ता देशमा राख्ने गरेको लेखिएको छ । जनरल केशरशमशेरले त हल्यान्डको सुगर प्रशोधन कम्पनीमा १ लाख पाउन्ड लगानी गरेको तथ्य पनि थाहा पाइन्छ ।
पुस्तकमा दिल्लीस्थित अमेरिकी दूतावासले पठाएका नेपालसम्बद्ध कैयन विवरणमा एउटा सामग्री काठमाडौंका दरबारभित्रका गतिविधिबारे पनि छ । उक्त विवरण भने दूतावासले पाक्षिक नेपाली पत्रिका ‘नेपाल टुडे’ ले छापेको भन्दै स्रोत उद्धृत गरेको छ । समाचारमा दरबारमा कामदार र सुसारेका रूपमा महिला राखिने र तिनीहरू यौनका निम्तिसमेत प्रयोग गरेकोदेखि पूर्व राणा प्रधानमन्त्री जुद्धशमशेर यौन क्षमता बढाउन दुई सय भंगेराको गिदीको सुप बनाएर दैनिक खान्थे भन्नेसम्मका विषय छन् । पुस्तकमा रोचक र अपत्यारिलोजस्ता लाग्ने विवरणको बाढी नै छ । यस्ता विवरण केलाउँदा त्यतिबेलाको राजनीति र नेपालको हैसियतबारे आकलन गर्न सकिन्छ ।
दिल्लीस्थित अमेरिकी राजदूत ह्यारी बिटसहितको टिम सन् १९४५ मा काठमाडौं आएर पैदलै धादिङबाट गोरखाको आरुघाट निस्केर लमजुङ पोखरा हुँदै कालीगण्डकीको तीरैतीर घुमेका थिए । तिनै ह्यारीले वासिङ्टन डीसीमा पठाएको केवलमा आफू अमेरिकामा राष्ट्रपति कार्यलयमा हुँदा एक नेपाली भेटेको प्रसंग उल्लेख गरेका छन्– चन्द्रशमशेरका छोरा सिंहशमशेर कूटनीतिक हैसियतमा अमेरिकाको ह्वाइटहाउस पुग्ने पहिलो नेपाली थिए । सिंहले अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानसहितको प्रतिनिधिमण्डललाई भेटेर नेपालमा आएर विस्तृत भौगर्भिक सर्भे गरेर खानीजन्य स्रोतहरू पत्ता लगाइदिन भनेका थिए । तिनै ह्यारीले लेखेको डायरीमा त्यतिबेलाका राणा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई नेपाल सरकारको सबैभन्दा ठूलो ओजस्वी राज्य भन्ने पदक दिन प्रस्ताव गरेको पनि लेखेका छन् ।
भारत स्वतन्त्र भइसक्दा पनि ब्रिटिसहरूले नेपाललाई आफ्नै अधीनको राज्यजस्तो गर्ने गरेको ब्यवहार पनि पुस्तकमा छ । काठमाडौं घुमेर फर्केका अमेरिकी मिसनहरूले वासिङ्टनमा पठाएको केवलहरूमा पनि नेपालबाट बेलायतीको एक मात्र स्वार्थ ब्रिटिस सेनामा नेपाली तन्नेरीहरू पठाउनु हो र त्यस अलावा नेपाली समाजभित्र चलिरहेको राजनीतिक विद्रोह वा अन्य कुराप्रति उनीहरूको कुनै चासो छैन भन्ने नै छ ।
नेपालमा कम्युनिस्टहरूको संख्या बढेकामा अमेरिका किन सशंकित बन्थ्यो भन्नेदेखि नेपालको आन्तरिक राजनीतिमा भारतीयहरूको चासो कुन हदसम्म थियो भन्ने बुझाउन पनि पुस्तक उपयोगी छ । अमेरिकीलाई नेपाली राजनीति, कूटनीति र यहाँभित्र भइरहेका राजनीतिक विद्रोहमाथि चासो देखिन्छ ।
तर, दिल्ली र कलकत्तास्थित कूटनीतिक निकायले भने काठमाडौंमा भित्रभित्रै हुर्किरहेको राणाविरोधी गतिविधि र आन्दोलनबारे समयमै पत्तो नपाएको देखिन्छ । कतिसम्म भने अमेरिकी मिसन काठमाडौं आएर फर्केको चार दिनपछि काठमाडौंमा नेपाली काग्रेसले सत्याग्रह सुरु गरेको थियो । तर, मिसनले त्यस्तो आन्दोलनको छनक पाएको विवरण वासिङ्टनमा पठाएको केवलहरूमा भेटिन्न ।
नोभेम्बर १९४६ मा अमेरिकन चार्ज डी अफेयर्स जर्न आर मिरिलले काठमाडौं आएर पदमशमशेर राणालाई भेटेको देखिन्छ । उक्त यात्रापछि उनले पठाएको केवलमा जनरल विजयशमशेरसँगको कुराकानीबाट आफूहरूले नेपालमा साक्षरता दर जम्मा साढे सात प्रतिशत रहेको, साढे १ प्रतिशत मात्रै अंग्रेजी बोल्न सक्ने रहेको उल्लेख छ । काठमाडौंवासीलाई पश्चिमा संसार जानकार भएको चलचित्रबारे केही थाहा नभएको, यहाँ कुनै सिनेमाहल खुल्ने तयारी पनि नभएको, तर केही राणा जर्नेलहरूको घरमा निजी सिनेमाघर रहेको आफूले थाहा पाएको उल्लेख गरेका छन् । त्रिचन्द्र कलेजमा आठ प्रोफेसर र एक दर्जनजति प्रशिक्षक रहेको र ती सबै भारतीय रहेको लेखिएको छ । साथै यही केवलमा अमेरिकामा दुई नेपाली छात्रवृत्तिमा पढिरहेको र तीमध्ये एक मुकुन्दशमशेर थापा भने जनरल मृगेन्द्रशमशेरको सिफारिसमा २ हजार डलरको छात्रवृत्तिसहित पढिरहेको उल्लेख छ ।
पुस्तकमा केही यस्ता रोचक विवरण छन्, जसले नेपाली बजारमा सामानको मूल्य कति थियो भन्ने थाहा हुन्छ । सन् १९४८ मा भारतस्थित अमेरिकी राजदूत हेनेरी एफ ग्रेडेसहितको टोलीले नेपालबाट घुमेर फर्केपछि अमेरिका पठाएको केवलमा यहाँको बजारमूल्यको विवरण छ । एक किलो सेतो राम्रो चामलको ६९ पैसा, एक केजी खसीको मासुको ५१ पैसा, एउटा लामो सेतो मुलाको ४ पैसादेखि टमाटर सस एक लिटरको बोतलको २ रुपैयाँदेखि टेनिस बलको २ रुपैयाँ, बाटा जुत्ता एक जोरको १४ रुपैयाँ र ६ ट्युब हुने ५ ब्यान्डको मर्फे रेडियोको ५ सय ५० रुपैयाँ पर्ने विवरण छ । कामदारहरू दैनिक साढे पाँच घण्टा काम गरेर १ रुपैयाँ र सिकर्मीहरू साढे ५ घण्टा काम गरेर डेढ रुपैयाँ ज्याला बुझ्थे ।
२००७ सालको क्रान्तिमा भारतीय भूमिकादेखि लैनचौरस्थित भारतीय दूतावासको सक्रियतासम्बन्धी रोचक विवरण पनि पुस्तकमा छन् । १६ जनवरी १९५१ मा दिल्लीस्थित अमेरिकी दूतावासले वासिङ्टनमा पठाएको केवलमा नेपालभित्र भइरहेको आन्दोलन चर्काउन भारतीय दूतावास सक्रिय रहेको थाहा हुन्छ ।
परिचय खण्डसहित १४ भागमा बाँडिएको किताब नेपाल–अमेरिका सम्बन्धको सुरुवाती कालखण्डको अभिलेख मात्रै होइन । यसले नेपालको भूराजनीतिक अवस्थिति पनि बुझाउँछ ।

 

Page 12
कोसेली

'म एक फकिर, एक गृहस्थ’

- कान्तिपुर संवाददाता

कवि रमेश क्षितिज कहिले आफूलाई सरल ठान्छन्, कहिले जटिल । भन्छन्, ‘पहिलेको समाजमा मानिसका दुःख साना र सरल हुन्थे, अहिलेका दुःख जटिल र बढी गुजुल्टिएका छन् ।’ यही बेला क्षितिजको नयाा कविता–किताब ‘पर्वत पर्वतमा बटुवा घाम’ प्रकाशित छ । उनीसाग दीपक सापकोटाले गरेको वार्ता :


प्रत्येक कवि आफ्नो आरम्भिक अवस्थामा कोही अग्रज कविको सिको गर्दै बामे सर्छ । नढाँटीकन भन्नुस् त, तपाईंको आरम्भिक कविता–लेखनमा कुन कविको प्रभाव बढी पर्‍यो ?
मानिसको व्यक्तित्व निर्माणमा ऊ जोडिएको समाज, उसले भोगेको वातावरण, देख्ने प्राकृतिक दृश्यहरू र अध्ययन, चिन्तनले भूमिका खेल्छ । म गाउँमा हुर्किएँ, जहाँ बाल्यकालमा साहित्यिक पुस्तक वा पुस्तकालयको सहज उपलब्धता थिएन । लेखनयात्रा योजनाबद्ध वा सचेतनापूर्वक सुरु गरिएको पनि होइन । यो त आफूसँगै जन्मेको एक स्वभाव थियो । यसैले कुनै एक कवि वा पुस्तकबाट अभिप्रेरित भएर वा कुनै घटना विशेषले म साहित्यमा आएको होइन ।
सानो उमेरमा ‘रामायण’, ‘मुनामदन’, ‘गौरी’ पढेको सम्झिन्छु । ‘रूपमती’ उपन्यास पढेको सम्झिन्छु । ‘पिँजडाको सुगा’ पनि सम्झिन्छु । उमेर र परिस्थितिअनुसार अध्ययनको दायरा परिवर्तन हुँदै जाने रहेछ । काठमाडौंमा कलेज पढ्न आएपछि त्यसबेलाको सोभियत रुसका सुपथ मूल्यका नेपाली अनुवाददेखि सबै किसिमका पुस्तक अध्ययन गर्ने अवसर प्राप्त भयो । मेरो लेखक व्यक्तित्व निर्माण हुनुमा पूर्वजहरूको पनि देन छ । अग्रजहरूले बनाएको बाटोमा हिँड्दै यहाँसम्म आएको हुँ म । त्यसैले मभन्दा अगाडिका धेरै कविको प्रभाव र उत्प्रेरणाले म कवि बने हुँला । उहाँहरू सबैप्रति मेरो कृतज्ञता भाव छ त्यसैले ।
कविता सिर्जनमा संसारैभरि कठोर र कोमल धारका कविताहरू लेखिने/पढिने गरिन्छन् । तपाईं आफूलाई कुन धारको प्रतिनिधित्व गर्छुजस्तो लाग्छ ?
एकपल्ट विदेशबाट फर्किंदै गर्दा बैंककको लामो ट्रान्जिटपछि काठमाडौंतर्फ उडेँ म । संयोगले म बसेको छेउको सिट खाली थियो । जहाज उडेको एकैछिनपछि पछाडिबाट उठेर एक युवती त्यहाँ बसिन् । बस्दाबस्दैको छोटो परिचयपछि पहिलो प्रश्न सोधिन्– तपाईं आफूलाई सुखी मानिस ठान्नुहुन्छ कि दुःखी ?
म एकछिन अल्मलिएँ– ओहो यो प्रश्न त मैले आफूलाई कहिल्यै गरेको रहेनछु– साँच्ची म दुःखी मानिस हो कि सुखी ? एकछिन सोचेर भनेँ, ‘खासमा कुनै पनि मानिस सम्पूर्ण रूपमा दुःखी वा सुखी हुँदैन होला । म कहिलेकाहीं सुखी मानिस हो र कहिलेकाहीं दुःखी मानिस । सुखदुःख भावनात्मक कुरा हो । यसैले जसले जे सम्झिन्छ ऊ त्यही नै हो । तर, अहिलेको कुरा गर्ने हो भने म हुँ परदेशमा केही समय बसेर घर फर्किरहेको खुसी मानिस ।’
खासमा म कुनै फ्रेम वा सिद्धान्तमा बसेर कविता लेख्दिनँ । म आफैं कहिले फकिरजस्तो हुन्छु, कहिले गृहस्थ । कहिले सरल त कहिले जटिल । अनि मैले लेखेको कविता कसरी एकै हुन सक्छ !
कविताको गुण त कोमलता नै हो । यहाँले विद्रोह, संघर्ष वा सामाजिक विषयवस्तुको कविता अथवा जीवनका मूल्यहरूका विषयको कविता भनेर दुई धार भन्न खोज्नुभएको हो भने ती दुवै रङहरू मेरो कवितामा छन् भन्ठान्छु ।
कवि समाजसँग निरपेक्ष भएर बस्न सक्दैन । त्यसैले उसको सामाजिक परिवेश कवितामा जोडिएर आउँछ नै । त्यसैगरी एउटा सचेत कविले जीवनबारे पनि प्रश्न गर्छ, गर्नुपर्छ । त्यसैले प्रेम, अध्यात्म, दर्शन र विचारका कुराहरू पनि आउँछन् नै । जीवनबोधी कविताहरू लामो समय जिउने कविता हुन् । ती सर्वकालिक पनि हुन्छन्, कहिल्यै पुरानो नहुने । यसैले मलाई ती कविताप्रति विशेष आकर्षण छ ।
कविताहरू जसको भाषा काव्यिक हुन्छ जसमा दर्शन र चिन्तनको सुगन्ध हुन्छ, जसले अन्तरहृदयमा एक ऊर्जा र अभिप्रेरणा दिन्छ– त्यस्ता कविता म बढी लेख्न चाहन्छु, त्यो अर्कै कुरा ।
विषयवस्तु वा धार जेसुकै भए पनि मूल प्रश्नचाहिँ कविता भनेर जसलाई भन्छौँ, त्यो असली कविता हो कि होइन भन्ने नै हो ।
ॅपर्वत पर्वतमा बटुवा घाम’ तपाईंको तेस्रो कवितासंग्रह हो । यस संग्रहसम्म आइपुग्दा तपाईंको प्रस्तुतिशैली र शिल्प साथै कथ्यसमेत दोहरिन थालेको अर्थात् तपाईंको काव्यसिर्जन एउटै पद्धतिको लिकमा गुड्न थालेको आभास तपाईं आफैंलाई कत्तिको हुने गरेको छ ?
अहिलेसम्म त्यस्तो आभास नभएकैले यो संग्रह आएको हो । इमानदारीपूर्वक भन्छु– जुन दिन म दोहरिन थालेँ भन्ने लाग्छ, त्यो दिनदेखि म कविता लेख्न छाड्नेछु । यसै पनि तीनवटा कवितासंग्रह आइसकेपछि मैले आफू हिँडेको लेखनको बाटाको गम्भीर समीक्षा गर्नु जरुरी छ–गरिरहेकै छु । प्रतिक्रियाहरू लिइरहेको छु । अब कसरी जाने भनेर सोचिरहेको छु ।
यो विषयमा सचेत भएर लेख्ने यत्नको कारणले पनि म थोरै लेख्छु । मेरा प्रत्येक संग्रहहरू कम्तीमा दस वर्षको अवधिपछि मात्र प्रकाशन हुने गरेका छन् । दस वर्षको अवधिमा सामाजिक जीवन र व्यक्तिगत जीवनमा धेरै भिन्नताहरू आएका हुने रहेछन् । अनुभव, अनुभूति र अध्ययनका कारणले सोच र चिन्तन पनि फरक हुँदोरहेछ । कति फरक उमेरजन्य पनि हुन्छ होला ।
तर, कविको आफ्नो शैली, पन वा रङ त रहन्छ नै । उसले लेखेका कविताहरूको एक आधारभूत गुण र मौलिक मूल्य रहेन भने उसको परिचय कसरी स्थापित हुन्छ ? ‘रमेश क्षितिजका कविता यस्ता हुन्छन्’ भन्ने चिनारी स्थापित गर्ने कविताको आफ्नो प्रकारको अनुहार त हुन्छ नै । तर, कविले आफ्नै परिचय र सुगन्धभित्र आफैंलाई नयाँ आविष्कार गर्दै जानुपर्छ । एक ताजापन, नवीनता र प्रयोगसाथ पाठकसम्म पुग्नुपर्छ भन्ने मैले मनन गरेको छु ।
तपाईं सरकारी सेवामा ज्यादै कठोर बनेर प्रस्तुत हुनुपर्ने भूमिका (प्रमुख जिल्ला अधिकारी) काँधमा बोकेको मान्छे । कविताजस्तो कोमलतम अनुभूतिको अपेक्षा गरिने विधामा सिर्जनारत हुन आफूलाई कसरी अनुकूलित गर्नुहुन्छ ?
मभित्र दुइटा मानिस छन् । एउटा, जो कार्यालय जान्छ, नियम कानुनका पाना पल्टाउँछ । शान्ति सुरक्षा हेर्छ वा मुद्दा हेर्छ, फैसला गर्छ । त्यो अनुशासनमा बस्छ, नीति नियम पालना गर्छ/गराउँछ । ऊ व्यवहारवादी छ । अर्को मानिस छ मभित्र, जो करुणा, प्रेम, मानवता र संवेदनाका कुरा गर्छ । पर्वत, नदी, जूनतारा र साँझको आकाश हेरेर रमाउँछ । एकबारको जुनीमा सिर्जनात्मक हुनुपर्छ भन्छ । स्वतन्त्रता, विद्रोह, कला वा जीवनको सार्थकताबारे चिन्तन गर्छ । ऊ आदर्शवादी छ । कल्पनाशील र चिन्तक छ । यी दुईको प्रायः मेलमिलाप हुन्छ । एकअर्कालाई सहयोग गर्छन् । सँगसँगै रमाउँछन् । तर, बेलाबेलामा यिनीहरूबीच द्वन्द्व हुन्छ । एउटाले म ठीक हुँ भन्छ, अर्कोले म । यस्तोबेला मलाई यिनीहरूको झगडा मिलाउँदै बस्नुपर्ने हुन्छ । सायद यही नै जिन्दगी हो ! तथापि जीवनको सौन्दर्य के हो भने संघर्ष र अप्ठ्याराहरूबीचमा कहीं न कहीं सरल बाटो पनि छ, त्यो आफैंले खोज्नुपर्छ !
कोमल पद–पदावली र कथ्य आफ्ना कविता–सिर्जनमा भित्र्याउने मोहमा तपाईं कतै नेपाली समाज र राजनीतिको कटुयथार्थ अनि भुइँमान्छेको क्रूर भोगाइको चित्रण गर्नुपर्ने दायित्वबाट पलायन त भइरहनुभएको छैन ?
मेरा तीनवटै संग्रह पढेको पाठकबाट यस्तो कुरा आउँछजस्तो लाग्दैन । विषयवस्तुको हिसाबले ‘अर्को साँझ पर्खेर साँझमा’ कवितासंग्रहमा विद्रोही चेतका कविता बढी छन् । विम्बहरू पनि प्राकृतिक र ग्रामीण बढी छन् । ‘घर फर्किरहेको मानिस’ मा रहेका ‘लडाकुको रुमाल’, ‘नयाँ सपना’ लगायत धेरै कवितामा त्यो दशकको समाजको मनोदशा, आम मानिसका आवाज र अनूभूति साथै विविध यात्राका संवेगहरू चित्रित छन् । यसैगरी ‘पर्वत पर्वतमा बटुवा घाम’ मा रहेका पाँच खण्डमध्ये ‘अग्निउत्सव’ को पूरै खण्डमा र अन्यमा पनि सामाजिक, राजनीतिक विषयका कविताहरू छन् । तर, जीवनका विविध आयाम, रङ र पाटोहरूलाई कविताले बिर्सनु हुँदैन । मानिस राजनीतिक पनि हुन्छ, तर जीवनमा राजनीति मात्र पनि त छैन ।
हो कविताको भाषा, संरचना र शैलीबारे मेरो आफ्नो मान्यता छ । वैचारिक र राजनीतिक विषयलाई पनि कविताले काव्यिक भाषामा बोल्नुपर्छ, भन्छु म । यो मेरो आफ्नो मान्यता हो । अर्को कविको अर्कै मान्यता हुन सक्छ, त्यसलाई पनि म सम्मान गर्छु ।
म कुन भूगोलबाट, कुन समाजबाट आएँ ? मेरो इतिहास, मेरो जरा के हो ? भनेर त्यसको खोजी गर्नु राम्रो कुरा हो । तर, म मानिस भएर किन जन्मिएँ ? मेरो जन्मको सार्थकता के हो ? म को
हुँ ? भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । सीधै नारा वा पर्चाको भाषामा भनिनु कविताको आधारभूत परिचय र सौन्दर्यको क्षयीकरण हो । मेरो कविताको बोल्ने शैली पृथक् हुन सक्छ, तर त्यसले न्याय, समानता, मानवता र उज्यालोबारे बोल्छ भन्ने सत्य हो ।
सामाजिक तथा राजनीतिक विडम्बनाहरूलाई बदल्न कविताको भूमिका कत्तिको प्रभावकारी हुन्छ ?
समाजको इकोलोजी वा पर्यावरणमा बिभिन्न तत्त्वको भूमिका रहन्छ । त्यसमध्ये कविता पनि एक हो । तर, यसमा दुई पक्ष महत्त्वपूर्ण हुन्छ । एउटा पक्ष– समाज कस्तो समाज हो ? शिक्षित, विचार, सिद्धान्त वा आदर्शले डोर्‍याएको समाज । यस्तो समाजमा कविता, कला वा दर्शनले हलचल ल्याउँछ । परिवर्तनका लागि ठूलो प्रभाव दिन सक्छ । यसको विपरीत व्यवहारले चलेको समाजमा विचार र कलाको तरंग वा प्रभावको दायरा सानो हुन्छ ।
दोस्रो पक्ष– कवि र कविताप्रति समाजको स्वीकारोक्ति वा विश्वास छ कि छैन ? भन्ने हो । समाजले कति मर्यादा दिएको छ ? चिन्तक वा सर्जकलाई कति आत्मसाथ गरेको छ ? उनीहरूको बोलीलाई समाजले कति गम्भीरतापूर्वक सुन्छ ? समाजले भरोसा गरेको छ भने कविताको प्रभावको दायरा पनि फराकिलो हुन्छ ।
तर, जुनसुकै रूपमा भए पनि कविता सोच र अन्तस्करणको परिवर्तनको स्रोत हो । संसारको इतिहास हेर्ने हो भने परिवर्तनको लहरमा कविताको उद्घोष र आवाजले मद्दत गरेका प्रशस्त उदाहरण छन् ।
विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा कविताको भविष्य कस्तो होला ? के यो मानिससँगै बाँचिरहला ?
हो, प्रविधिले आउँदो समयमा कवितालाई पनि प्रभाव पार्नेछ । हुन सक्छ, कवितालाई बढी दृश्यमा वा पर्दामा हेरिएला अब । प्रकाशन र सम्प्रेषणको नयाँ रूप पनि आउला । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले मेसिनले कविता लेख्नेछ, चित्र बनाउनेछ, जो सुरु भई नै सकेको छ । कुनै चिप्सको प्रयोगले सोच्न सक्ने कृत्रिम मानवहरू बनाइनेछन् । यस्तोमा कोही यन्त्र–मानव कविता लेख्नकै लागि पनि तयार गरिएला– कवि यन्त्र–मानव । कोही– चित्रकार रोबर्ट ।
म पश्चिमका केही देशहरूमा पुगेँ । त्यहाँ अनिद्रा र एक्लोपन भयावह छ । हाम्रोमा पनि अहिले बूढाबूढी एक्लिँदै गएको देख्न सकिन्छ । संयुक्तबाट न्युक्लियर फेमिलीतिर गइरहेको छ समाज । पहिलेको समाजमा मानिसका दुःखहरू साना र सरल हुन्थे अब मानिसका दुःखहरू जटिल र बढी गुजुल्टिएका हुनेछन् । यस्तोमा कविताको उपादेयता झन् बढिरहेको देख्छु म । किनकि यो मन र मस्तिष्कसँग जोडिएको विषय हो । यसले आत्मिक शान्ति र अन्तस्करणमा जीवन्त ऊर्जा प्रवाह गर्नेछ मानिसलाई । र, जिउने अभिप्रेरणा दिनेछ ।
जस्तो कि ध्यानका हजारौं विधि छन् । ओशोदेखि रविशंकरले ध्यानका आ–आफ्ना शैली विकास गरेका छन् । तर, बुद्धको विपश्यना अहिले पनि प्रचलित छ । मानिसले लेखेका कविता फेरि पनि सर्वकालिक होलान्, त्यसरी नै ।

कोसेली

अब हिसाब हुनेछ

- विप्लव प्रतीक

 

यहाा सबको हिसाब हुनेछ
पाप गरेर प्रार्थनागृह बनाउनेहरुको
निरीहको गला निमोठ्ने अट्टाहासीहरुको
हिसाब हुनेछ, सबको हिसाब हुनेछ ।

जसले रूवाइरहे निरन्तर निर्बललाई
जसले लुटिरहे नित्य निर्धनलाई,
आवाज बक्सिएझौ गरी,
जसले खोसे वाणी निमुखाको,
घरिघरि जसले निष्पापको आाखामा छारो हाले,
सबको हिसाब हुनेछ ।

कसैको हक निर्धक्क खोसेर
जसले आफ्नो दुनो सोझ्याए
अर्काको घर हत्याएको खुशीमा
आफ्नो आागनमा जो–जो नाचे
त्यसको हिसाब हुनेछ ।

जसले आजादीको सपना देखाए
र, सब स्वतन्त्रहरुलाई फकाउादै
आफ्नो झूठवचनमा कैद गरे,
निश्छललाई छलपूर्वक
जसले गहिरो गर्तमा गिराए, डुबाए
जो–जो आजादीको नाउामा
आफू मात्रै उन्मादी–आजाद भए
त्यसको हिसाब हुनेछ ।

यो हिसाब गर्न कोही देवदूत आउने छैन
पापको घैला फोड्न कोही धर्माधिकारी आउने छैन
न ती निमुखा, निर्बल र पददलितहरुका निम्ति
मुक्ति लिएर कुनै अर्को बहुरुपिया अगुवा बनी आउनेछ ।

यौटा समय आएको थियो दैत्यहरुका लागि
अर्को समय आउनेछ निहत्थाहरुका लागि पनि
सब चक्र हो, चक्रमै चलिरहेछ समय
र, यदि त्यो समय अब आएन भने
त्यसको पनि हिसाब हुनेछ,

सबको हिसाब हुनेछ ।

कोसेली

जो सगरमाथाबाट हराए

- कुम्भराज राई

 

२५ तारिख (११ जेठ) बिहीबार राति रञ्जितकुमार साह र उनका गाइड लाक्पानुरी शेर्पा साउथ समिट
(८६००) मिटरमाथि उक्लिसकेका थिए । चुचुरो पुग्न करिब दुई सय मिटर बाँकी थियो । रातको १ बजेर ५५ मिनेटमा एक्कासि उनको जीपीएस अफ भयो । जीपीएस ट्र्याक गरिरहेका ङिमादेण्डी शेर्पालाई लाग्यो– पक्कै ब्याट्री सकियो ।
साउथ समिटबाट तीनदेखि पाँच घण्टाभित्र चुचुरोमा पुगिसक्नुपर्ने थियो । उनीहरूलाई सेटमा सम्पर्कको प्रयास गरियो । कुनै प्रतिक्रिया आएन । सोही दिनको साँझ वा भोलिपल्टसम्म चौथो शिविर फर्किएलान् भन्ने आशा थियो । शेर्पा गाइड साथै भएकाले रञ्जित सम्पर्कमा आउलान् भन्ने लाग्यो । तर, न उनीहरू चुचुरोमा पुगेको खबर आयो, न चौथो शिविर फर्किएको । दुवै सम्पर्कविहीन भए । अन्ततः रञ्जित र लाक्पानुरु साउथ समिटदेखि सधैंका लागि हराए ।
...
जनकपुर बसपार्कको दायाँतर्फ छेवैमा छ– रञ्जितको पानपसल । बुबाको पानपसल सम्हाल्दै आएका थिए रञ्जितले । औसतभन्दा फरक स्वभावका थिए । ११ महिना पानपसल चलाउँथे । एक महिना पसलको सटर झार्थे र फिरन्तेका रूपमा जनकपुरदेखि साइकलको पाइडल मार्थे ।
यसरी रञ्जितले जनकपुर–पशुपति, जनकपुर–हलेसी, जनकपुर–अयोध्या, जनकपुर–मुक्तिनाथ, जनकपुर–पाथीभराको सयौं किलोमिटर यात्रा गरिसकेका थिए । उनको मनमा एक्कासि साइकल लिएर सगरमाथा आधारशिविर जाने हुटहुटी पलायो । काठमाडौं पुगे । पर्यटन विभागमा सोधे । तत्कालीन विभागकी निर्देशक मीरा आचार्य उनको हुलिया देखेर छक्क परिन् ।
रञ्जित हिरो साइकल लिएर प्लास्टिक जुत्ताको साथमा आधारशिविर जाने तयारीमा थिए । मीराले बाटामा अप्ठ्यारो परे सहयोग गर्ने वाचासहित आधारशिविर यात्राको शुभकामना दिइन् । पातलो रेनकोट लगाएर प्लास्टिककै जुत्तामा २०७६ असोजमा रञ्जित सगरमाथा आधारशिविर र कालापत्थर पुगे । त्यहाँ पुगेपछि उनको सपना चुलियो । हिरो साइकल बोकेरै सगरमाथा चढ्ने सपना बुने । गोरक्सेपको लामा लजमा साइकल छोडेर पैदलै जनकपुर फर्किर्ए ।
आधारशिविरदेखि जनकपुर फर्किने क्रममा मेरो भेट रञ्जितसँग ओखलढुंगामा भयो । उनले सगरमाथा चढ्ने प्रक्रिया र लाग्ने खर्चबारे सोधे । मैले बताएँ । सगरमाथा जानुअघि कुनै एउटा हिमाल चढ्नुपर्ने सुझाव दिएँ । त्यसका लागि सहयोगको अनुरोध गरे । त्यतिबेलै मेरा मित्र आङबाबु शेर्पाको कम्पनीले आमाडब्लम हिमाल आरोहणको तयारी गरिरहेको थियो । मैले सम्पर्क गराएँ ।
आधारशिविर पुगेर फर्किएको एक महिनापछि कात्तिक १२ गते भाइटीकाको दिन उनले ६ हजार ८ सय १२ मिटरको आमाडब्लम आरोहण गरे । निकै टेक्निकल मानिने आमाडब्लमको सफलतापूर्वक आरोहण गरेपछि आफ्नो सफलताको पहिलो खुसी टेलिफोनमार्फत मलाई बाँडे । त्यसपछि सगरमाथा आरोहणको तयारीमा लागे । तर, कोभिडका कारण २०७७ को वसन्त ऋतुमा हिमाल आरोहण रोकियो ।
कोभिडको दोस्रो चरण सुरु हुनुअघि साइकल लिएर सगरमाथा जाने अनुमतिका लागि हरप्रयत्न गरे । कानुनले वर्जित गरेकाले साइकल लिएर जाने अनुमति पाएनन् । आमाडब्लम गएर फर्किएपछि मात्रै थाहा पाएँ । रञ्जितले आमाको गहना बेचेर आमाडब्लम जाने खर्च जुटाएका रहेछन् । उनलाई आरोहणमा लैजाने कम्पनीले केही बढी शुल्क लिएको गुनासो गरे । सगरमाथाका लागि अर्कै कम्पनी खोजिदिन अनुरोध गरे । मैले ‘ह्याप्पी फिट’ नामक कम्पनीका मालिक देन्डी शेर्पासँग कुरा गरिदिएँ । देण्डी रञ्जितलाई आरोहणमा लैजान सहमत भए ।
तर, रञ्जितसँग आरोहणमा चाहिने खर्च थिएन । तत्कालीन प्रदेश २ का मुख्यमन्त्रीसँग पुगे, सहयोग माग्न । मुख्यमन्त्रीले ‘२०–२५ हजारले पुग्छ ?’ भनेर सोधेपछि उनी निरासिएर फर्किए । सगोलमा रहेको तीनतले घर दाजुको नाममा पास गरे । अंशमा परेको केही जमिन बेचे र करिब २० लाख जुटाए । त्यही बेलादेखि दाजुसँग उनको मनमुटाव भयो र बोलचाल बन्द भयो ।

आँसुसहितको त्यो बिदाइ
२०७८ वैशाख । रञ्जित सगरमाथा आरोहणका लागि हिँड्ने तयारीमा थिए । घरबाट बिदाइको तयारी भयो । बुबाआमाको कोठाको ढोकाअघि दुवैतिर कलश राखिएको थियो । रञ्जितले कोठाभित्र खाटमा बुबाआमालाई राखे, आफू भुइँमा बसे । काँसको थालमा बुबा–आमाको खुट्टा पालैपालो धोए । खुट्टा धोएको पानी पिए र ढोगे । आमा–बुबाले रञ्जितको शिरमाथि हात राखेर आशिष दिए । आमाको आँखाबाट आँसु बगिरह्यो ।
आशिष लिइसकेपछि रञ्जित उभिए । आमाले नेपालको राष्ट्रिय झन्डा ओढाइन् । आमा–बुबा दुवैलाई उभिन लगाए । मोबाइलमा राष्ट्रिय गान बजाए । राष्ट्रिय गान बजिसकेपछि रञ्जितले दायाँ हात उठाएर सिपाहीले झै सलाम गरे । अनि झोला बोकेर बाहिरिए । घरबाट खाली खुट्टै निस्किए ।
जनकपुर विमानस्थलमा चिनजानका साथीभाइले फूलमाला, खादा लगाइदिएर उनलाई शुभकामनासहित बिदाइ गरे । विमानस्थल छिर्ने बेला मैले सोधें, ‘रञ्जित चप्पल नलगाउने ?’ उनले भने, ‘विमान चढिसकेपछि मात्रै चप्पल लगाउँछु ।’ खाली खुट्टै जन्मेको ठाउँ टेकेर सगरमाथा शिखरको यात्रामा निस्किए । मैले शुभकामना दिँदै न्यानो अंकमाल गरेँ र हात हल्लाएँ ।

रञ्जितका दुर्भाग्य
मैले रञ्जितलाई सगरमाथा यात्राको दैनिकी टिपोट गर्न सुझाएको थिएँ । उनले डायरी बोकेका थिए । आरोहणबाट फर्केपछि त्यसैलाई आधार मानेर उनीबारे किताब लेख्ने सल्लाह थियो ।
म सोही दिन ओखलढुंगा फर्किएँ । काठमाडौं हुँदै उनी लुक्ला गए । सगरमाथा आधारशिविर पुगेको खबर मेसेन्जरमा गरे । स्कुले शिक्षा पूरा नगरेका उनी प्रायः भ्वाइस म्यासेज गर्थे । दोस्रो चरणको कोभिड चरम उत्कर्षमा थियो । आधारशिविरभरि कोभिड फैलिएको खबर सञ्चारमाध्यममा छाएको थियो । उनलाई गाइडले तीन पटकसम्म पहिलो शिविर लैजान कोसिस गरे । तर, ४५ मिनेटको बाटो उनले तीन घण्टामा पनि पूरा गर्न सकेनन् ।
त्यसपछि आधारशिविरमै फर्काइयो । उनलाई निमोनिया भइसकेको रहेछ । किनभने उनले जनकपुरको गर्मीमा ‘चिसो पचाउन’ दैनिक आधा घण्टासम्म डिप फ्रिजमा बस्ने अभ्यास गरेका रहेछन् । ग्यास सिलिन्डर बोकेर दैनिक तीन तला भर्‍याङमा ओहोरदोहोर गर्ने गरेको उनै सुनाउँथे । त्यति नै बेला ह्याप्पी फिट कम्पनीका मालिक देण्डी शेर्पा कोभिडग्रस्त भएर काठमाडौंमा उपचाररत थिए । मलाई देण्डीले निकै सास फेर्न कठिन अवस्थामा फोन गरे र भने, ‘सर तपाईंले रञ्जितलाई भन्दिनुपर्‍यो । ऊ हिँड्नै सकेको छैन । क्याम्प वान पनि पुग्न सक्दैन । तर, जबर्जस्ती म सगरमाथा चढ्छु मात्रै भन्छ । अब हामीले लैजाने अवस्था छैन । नत्र ऊ बेसक्याम्पमै मर्छ ।’ मैले देण्डीसँग ‘हुन्छ’ भनेँ र रञ्जितलाई फोन गरेँ । ‘ज्यान बाँचे फेरि चढ्न सकिन्छ, फर्केर आऊ’ भनेँ ।
नभन्दै रञ्जित फर्किए । काठमाडौंमा कोभिड परीक्षण पोजिटिभ देखायो । दुई दिनपछि एम्बुलेन्स रिजर्भ गरेर जनकपुर फर्किर्ए । त्यसको दुई दिनमा देण्डी शेर्पाको निधन भएको खबर आयो । रञ्जितको सपना अधुरै रह्यो । उनले मलाई पुनः सोही कम्पनीका अर्का सञ्चालक ङिमादेण्डीसँग भेटेर कुरा गरिदिनू भने । हामीले सँगै भेटेर काठमाडौंमा ङिमादेण्डीसँग कुरा गर्‍यौं । अर्को आरोहणका लागि केही छुट गरिदिन आग्रह गर्‍यौं । ङिमादेण्डीले बजेटमा छुट नहुने, तर पूर्वतयारीका लागि जाने ट्रेकिङ निःशुल्क गरिदिने बताए । गत वर्ष आरोहण सिजनअघिसम्म उनले खर्च जुटाउने कोसिस गरे । तर, खर्च नभएपछि जान नसक्ने भएको खबर म्यासेन्जरमा पठाए ।
यस वर्ष उनी गएको फागुनमा नुरुजाङबु शेर्पालाई गाइड लिएर आरोहणको पूर्वतयारी स्वरूप लाङटाङ पदयात्रामा निस्किए । लाङटाङमा १८ दिनको पदयात्रा सकेर फर्किएको केही दिनमै उनको बुबाको निधन भयो । शोकमै उनी सुटुक्कै सगरमाथा आरोहणका लागि घरबाट निस्के । दुर्भाग्यले उनलाई छोडेन । रञ्जितलाई तेस्रो शिविर पुर्‍याएर फर्काउने क्रममा गाइड नुरुजाङबुको ढाडमा समस्या आयो । नशा च्यापिएपछि दोस्रो शिविरदेखि नुरुजाङबुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगियो ।
कम्पनीले अर्का गाइड मिङमार शेर्पा पठाए । मिङमार पनि पेटको समस्या देखाएर दोस्रो शिविरबाट फर्किए । रञ्जित अलमलमा परे । कम्पनीले पनि तत्काल अर्को गाइड व्यवस्था गर्ने अवस्था रहेन । रञ्जितले नै ‘हिमालयन एक्सपिडिसन’ कम्पनीका गाइड लाक्पानुरीलाई भेटे । लाक्पा शिखर पुगेर फर्किसकेका थिए । दुईबीच आपसी सहमति भयो । लाक्पानुरीसँग रञ्जित पुनः शिखरतर्फ लागे ।
२३ मे मा तेस्रो शिविर, २४ मेमा चौथो शिविर पुगे । २५ मे को बिहान शिखर चुम्ने लक्ष्यसहित २४ मे को राति उकालो लागे । ८ हजार ६ सय मिटर उक्लिसकेपछि बेपत्ता भए । सोही दिन आरोहण गरेर फर्किएको ‘इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन’ का समूहले उनीहरूलाई चौथो शिविरभन्दा माथि बाटामा भेटेका थिए ।
‘इम्याजिन नेपाल’ का निर्देशक मिङमा शेर्पाका अनुसार, उनीहरूको समूह आरोहणबाट फर्किंदा रञ्जित र लाक्पानुरु दुवै चीनको तिब्बततर्फ खसिसकेका थिए । दुई जना बेपत्ता भएको खबर सुनिसकेपछि आधारशिविरमै रहेका सरकारी सम्पर्क अधिकृत खिमलाल गौतमले सोधखोज गरे । तर, ‘साउथ समिट नजिकै डोरी लत्रेर चीनतर्फ खसको देखेको’ भन्नेसम्म सुने ।
‘आठ हजारमाथि भनेको डेथ जोन हो । चिसो र अक्सिजनको कमीले मस्तिष्कले काम नगर्ने समस्या हुन्छ । अधिकांश आरोहीले पागलपन देखाउने गर्छन् । गाइड तन्दुरुस्त भएन भने जे पनि हुन सक्छ,’ खिमलाल भन्छन्, ‘त्यस्तै कुनै दुर्घटनामा परेको अनुमान गर्न सकिन्छ ।’

त्यो सरप्राइज
यस वर्ष रञ्जित सगरमाथा आरोहणमा गएको कसैलाई थाहै थिएन । रञ्जितले मलाई पनि भनेनन् । एकैचोटि तीन दिनदेखि बेपत्ता भएको खबर थाहा भयो । पदयात्रामा लाङटाङ जाने बेला उनले गाइड नुरुजाङबुलाई भनेका थिए रे, ‘म सगरमाथा जाँदै छु भनेर कसैलाई नसुनाउनुहोला । म सबैलाई सरप्राइज दिन चाहन्छु ।’ तर, उनले साँच्चिकै ‘सरप्राइज’ दिए ।
उनको प्रत्येक यात्राको एक मात्र नारा थियो, ‘हिमाल पहाड तराई, हाम्रो मातृभूमि नेपाल, राष्ट्रिय एकता ।’ मधेशलाई भावनात्मक रूपमा हिमाल र पहाडसँग जोड्ने उनको सपना थियो । यदि उनले सफलतापूर्वक आरोहण गरेका भए मधेश प्रदेश अर्थात् मधेशी समुदायबाटै सगरमाथा आरोहण गर्ने सम्भवतः पहिलो युवा हुनेथिए । न उनलाई मधेश सरकारले चिन्यो । न उनले आफ्नो अभियान सफल पार्न सके । ‘सगरमाथा आरोहण गरेपछि के गर्छौ ?’ उनी भन्थे, ‘म मधेशमा अर्को रञ्जित साह जन्माउन चाहन्छु ।’
सायद रञ्जितको मरण सगरमाथामै लेखिएको रहेछ । त्यसैले उनलाई पागलको संज्ञा दिँदासमेत सगरमाथा चढ्ने सपनाबाट पछि सरेनन् । आरोहणको नशा लागेका धेरै आरोहीको मनमा एउटै कुरा खेल्छ, ‘मर्नैपरे सगरमाथामा खुसीसाथ मरौंला ।’ हो, त्यसरी नै रञ्जित आफ्ना सपनासँगै सगरमाथाको काँधमा बिलाए ।
सगरमाथा त उनले त्यतिखेरै आरोहण गरिसकेका थिए, जतिखेर एउटा सामान्य पान पसले युवाले सगरमाथाको शिखर चुमेको सपना देखेका थिए ।