You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

नयाँ समीकरण बनाउन कांग्रेस र एमालेका दोस्रो तहका नेता संवादमा

- कुलचन्द्र न्यौपाने,बबिता शर्मा

(काठमाडौं)
कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिइनसकेको दुवैतर्फका नेताहरूको भनाइ छ ।
स्वास्थ्य परीक्षणका लागि भन्दै जेठ ३० मा सिंगापुर गएका देउवा बुधबार बिहान ११ बजे स्वदेश फर्कने कार्यक्रम थियो तर फर्कने समय अचानक परिवर्तन गरेर देउवाले केही महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेको सत्ता गठबन्धनभित्र आशंका छ । यता, यही बेला प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाहेकका वाम शक्तिलाई एकत्रित गराई असार ४ मा समाजवादी मोर्चा गठन गरेका छन् । यी घटनाक्रमले कांग्रेस र माओवादी आपसमा संशकित भएको बेला एमालेले नयाँ गठबन्धनको पहल तीव्र बनाएको छ ।
एमालेसँग संवादमा कांग्रेसका एक नेताका अनुसार एमालेका नेताहरूले नै कांग्रेस–एमाले गठबन्धन बनाउन पहलकदमी लिइरहेका छन् । ठूलो दल (कांग्रेस) कै नेताले सरकारको नेतृत्व गर्दा प्राकृतिक हुन्छ, दुई दल मिल्दा साना दलहरूलाई मोलमोलाइको अवसर हुँदैन, सरकारले प्रभावकारी काम गर्न सक्छ भन्ने तर्क अघि सार्दै एमालेका नेताहरूले संवाद अघि बढाएका छन्,’ उनले भने, तर यस विषयमा हाम्रा सभापति नै अहिलेसम्म सकारात्मक देखिनुभएको छैन । सिंगापुर भ्रमणपछि उहाँको भनाइ के हुने हो, प्रतीक्षा गरिरहेका छौं ।’
देउवा सकारात्मक नभए तत्काल गठबन्धन सम्भव नहुने र कांग्रेसको इतर समूह पनि सामेल नभए नयाँ गठबन्धन बलियो नहुने ठानेर एमालेले कांग्रेसका सबै पक्षसँग संवाद गरिरहेको छ । कांग्रेसको संस्थापन पक्षका नेताहरूसँग मात्रै कुरा गर्दा समीकरण भरपर्दो नहुने ठानेर यस पटक एमालेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहितसँग विभिन्न चरणमा संवाद गरिरहेका छन्,’ ती नेताले भने ।
कांग्रेस महामन्त्री गगन थापा तत्काल त्यस्तो सम्भावना नदेखिए पनि भविष्यमा कांग्रेस र एमालेबीच समीकरण बन्न असम्भव नभएको बताउँछन् । ‘आजको दिनमा त्यस्तो केही भइरहेको छैन तर हाम्रोमा गठबन्धन बन्न र भत्किनका लागि कुनै सैद्धान्तिक आधार चाहिने होइन । कुनै पनि बेला दुई ठूला पार्टी मिलेर सरकार बन्ने बाटोतिर जान्छ भनियो भने असम्भवचाहिँ होइन,’ उनले भने । एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कांग्रेस नेताहरूसँग पछिल्लो पटक हुने गरेका संवादमा हार्दिकता बढिरहेको बताए ।

‘बजेटप्रति सत्तारूढ सांसदले देखाइरहेको चरम असन्तुष्टिले पनि वर्तमान सत्ता गठबन्धन के हुने भन्ने खालका चर्चा छ । राजनीतिमा सबै खालका सम्भावना हुन्छन्, पछिल्लो पटक कांग्रेस नेताहरूसँग खुलेर संवाद हुन्छ, हार्दिकता देखिन्छ ।’
के तपाईंहरूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने गरी समीकरण बनाउन खोज्नुभएको हो भन्ने प्रश्नमा नेम्वाङले थपे, ‘त्यो त मलाई थाहा भएन तर के हो भने सामान्य ढंगले कुरा गर्दा देशको पहिलो पार्टी छ, बाहिर बस्दै, खालि काँध मात्रै थाप्ने हो त ? काँधमा चढ्नेले अलि राम्रै काम गरेको भए त हुने थियो, १० वटा बदनामी कुराहरू उठिरहने, अनि अर्कोले काँधमा बोकेर हिँडिरहने भए । त्यसैले यस्ता कुराहरू भइहाल्छन् । आकार देखिएको छैन, तर भित्रभित्र चर्चाहरू चलिरहेका छन् ।’
कांग्रेस नेताहरू पनि अहिलेको संवादले आकार नलिएको बताउँछन् । भन्छन्, ‘दोस्रो तहमा संवाद जारी छ । तर, माथिल्लो तहमा विश्वासको वातावरण बनिसकेको छैन । खासगरी गत पुस १० मा बालुवाटार आउँछु भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाललाई बालकोट बोलाएर प्रधानमन्त्री बनाएकामा देउवाले एमालेको प्रस्तावलाई भरपर्दो मान्नुभएको छैन ।’
एमाले पहलमा प्रधानमन्त्री भएका दाहाललाई कांग्रेसले विश्वासको मत दिएपछि तथा राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गरेपछि एमाले–माओवादी गठबन्धन टुटेको थियो । त्यसपछि देउवा, दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आलोपालो सरकार चलाउने समझदारीसमेत गरेका छन् । सहमतिअनुसार दाहालले दुई वर्ष, नेपालले एक वर्ष र देउवाले अन्तिम दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् ।
सत्ता गठबन्धनभित्र पनि प्रधानमन्त्रीले समाजवादी गठबन्धन (मोर्चा) बनाएका छन् । कांग्रेसमाथि दबाब बनाइराख्न दाहालले यो कदम लिएका हुन् भन्ने कांग्रेस नेताहरूको भनाइ छ । यद्यपि दाहालले कांग्रेसलाई आश्वस्त पार्न खोजेका छन् । बुधबार साँझ कान्तिपुर टीभीमा प्रसारित टफ टकमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘समाजवादी मोर्चा बनाउने कुरामा कांग्रेसका नेताहरूको पनि सहमति छ । तपाईंहरू, लेफ्टहरू आफ्नो विचारको धरातल भएका पार्टीहरू छिटो मोर्चा बनाउनु, त्यसले नेपालको राजनीतिलाई अलि सहज बनाउँछ भन्नेछ । शेरबहादुर देउवाजीसमेत भएका बेलामा पहिलोचोटि समाजवादी मोर्चा बनाउनुपर्छ भनेर उपेन्द्रजी, माधव नेपालजी र मैले हस्ताक्षर गरेका थियौं । देउवाजी चाहनुहुन्थ्यो कि छिटो तपाईंहरूको मोर्चा बनोस् । उहाँलाई विश्वास थियो । उहाँ भनिरहनुहुन्थ्यो कि छिटो मोर्चा बनाउनुस् भनेर ।’
भुटानी शरणार्थी प्रकरणलगायतमा सरकारको नेतृत्व गरेको दलबाटै कांग्रेसलाई बदनाम बनाउने काम भइरहेको र यसले सत्ता हस्तान्तरण हुने कुरामा पनि अविश्वास बढेको भन्दै कांग्रेसका कतिपय नेताहरू एमालेसँग समीकरणको पक्षमा देखिएका छन् । पछिल्ला दिन दाहाल र देउवाबीच पनि भेटघाट पातलिएका छन् । निकट नेताहरूका अनुसार खासगरी नक्कली शरणार्थी प्रकरणमा सरकारले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई छानबिन दायरामा तानेपछि देउवा दाहालसँग असन्तुष्ट छन् । दाहाल र देउवाबीच सुषुप्त रूपमा रहेको खटपट अहिलेको गठबन्धनको भविष्यसँग जोडिएको र सोही कारण दुवै पक्षले आ–आफ्नो तयारी थालेको स्रोतहरू बताउँछन् ।
चुनावी वर्षमा सरकारको नेतृत्व लिँदा प्रभावकारी काम देखाउन नपाइने तर्क गर्दै कांग्रेस नेताहरूले देउवालाई एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न सुझाइरहेका छन् भने कतिपयले गठबन्धनलाई धोका दिँदा बुमर्‍याङ हुने तर्क गरिरहेका छन् । ‘पुस १० गते गल्ती गर्‍यौं भनेर दाहाललाई प्रधानमन्त्री स्वीकार्ने तर अहिले आएर एमालेसँगको समीकरणमा प्रधानमन्त्री हुन खोज्दा राजनीतिक बुमर्‍याङ हुन्छ भनेर सिंगापुर जानुअघि हामी केही नेताहरू गएर भनेका हौं,’ देउवानिकट नेताले भने, ‘तर वरिपरिका केही नेता शेरबहादुर देउवा प्रधानमन्त्री भइदिए राइँदाइँ गर्न सकिन्छ भनेरै गठबन्धन भत्काउन लागिरहनुभएको छ ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारका बारेमा विभिन्न चलखेल बढिरहे पनि कांग्रेस र माओवादीबीच आशंका बढ्नुपर्ने कुनै कारण नभएको बताए । ‘सरकारको नीति र कार्यक्रम आउने बेलातिर एक खालको तरंग भएको थियो, अविश्वास थियो तर देउवाको सिंगापुर भ्रमण र अहिले भइरहेका चलखेलले सत्ता समीकरणलाई असर पुर्‍याउँछ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘पहिला नेकपा फुट्दा
जनतामा धेरै निराशा बढ्यो । त्यसबाट पार भएर आशा जगाउने ठाउँमा आइपुगेका छौं । अहिले कांग्रेस र माओवादीबीच अविश्वास बढ्नु दुवैका लागि घाटा हो ।’
माओवादी सचिव देवेन्द्र पौडेल पनि यो सरकार नै निरन्तर चलिरहने वातावरण रहेको दाबी गर्छन् । ‘सरकार निरन्तर चल्छ, गठबन्धनको सहमतिअनुसार नै तोकिएको समयसम्म चल्छ, प्रधानमन्त्री उत्पादन गर्ने ठाउँ भनेको प्रतिनिधिसभा हो, त्यहाँ जबसम्म गठबन्धनको बहुमत चलिरहन्छ, तबसम्म यो सरकार चलिरहन्छ,’ उनले भने, ‘सहमतिअनुसार काम नभए मात्रै बहुमत टुट्ने हो, अहिलेसम्म सहमतिअनुसारै काम भइरहेकाले यो सरकार चलिरहन्छ ।’
संस्थापन पक्षका नेतासमेत रहेका कांग्रेस केन्द्रीय प्रचार विभागका प्रमुख मीन विश्वकर्मा भने सत्तासमीकरण बदलिने र नबदलिने कुरा प्रधानमन्त्री दाहालकै हातमा रहेको बताउँछन् । ‘दाहाललाई काँध फेर्न मन लाग्यो भने फेर्न सक्नुहुन्छ तर कांग्रेस यही गठबन्धनको पक्षमा छ, गठबन्धनका बीचमा भएका सझौता, सहमति उल्लंघन गरेर कांग्रेस अर्को गठबन्धनमा जाँदैन,’ उनले भने ।
समाजवादी मोर्चाप्रति कांग्रेसको आशंका नभएको उनले बताए । ‘मोर्चा गठन नहुँदा केही दल एमालेतिर जान्छन् अथवा माधव नेपाल नै जाने र एक–दुईवटा स्वतन्त्र सांसदलाई समेत तान्दा एमाले ठूलो पाटी हुने हो कि भन्ने शंका थियो, मोर्चा गठनपछि त्यो शंका रहेन, कांग्रेसका लागि त झनै राम्रै भयो,’ विश्वकर्माले भने ।
नीतिगत रूपमा एमालेसँगको समीकरणमा जानुपर्ने पक्षमा रहेका कांग्रेस नेता मीनेन्द्र रिजाल गठबन्धनका बीचमा भएको सम्झौता नाघेर नयाँ समीकरण बन्ने सम्भावना नभएको बताउँछन् । ‘एमाले र कांग्रेस मिल्दा धेरै काम गर्न सकिन्छ भन्ने मेरो चाहना हो तर सभापति र महामन्त्री सबैले यो गठबन्धनलाई पाँचै वर्ष लैजाने सहमति भएको हो भन्नुभएको छ । संस्थागत सम्झौता भएको हो भने त्यसलाई भत्काउन कसरी सहज हुन्छ ? सम्झौता गरेको हो भने त्यसको इमानदारीपूर्वक पालना गर्नुपर्छ,’ रिजालले भने, ‘कांग्रेस र एमालेबीच समीकरण बनाउने कुरा मेरो तहमा भएको छैन । मभन्दा माथिको तहबाट भएको भए थाहा छैन ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको मुख्य उद्देश्य रहेको दाबी गरिएको छ । यसका लागि मोर्चाले १५ बुँदे वैचारिक एवं राजनीति प्रतिबद्धता सार्वजनिक गरेको छ तर सत्ता राजनीतिमा उसको गहिरो चासो छ । मोर्चामा आबद्ध तीन दलसँग प्रतिनिधिसभामा ५४ सांसद छन् । यो संख्या जुनसुकै बेला हुन सक्ने सत्ता संघर्षको खेलमा निर्णायक बन्न सक्छ । कांग्रेस सभापति देउवा ‘उपचार’ का लागि देशबाहिर रहेका बेला सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालको अगुवाइमा मोर्चा गठन गरिनु बहुआयामिक रणनीतिमा केन्द्रित रहेको नेताहरू बताउँछन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन चाहिने बहुमत अंक भनेको १ सय ३८ हो । यस्तो अवस्थामा मोर्चाबाहेक कांग्रेस र एमाले मिलेर मात्रै सरकार बन्ने विकल्प हुन्छ । अहिलेको सरकार सुरक्षित गर्न वा भविष्यमा सहमतिअनुसार अर्को सरकार बनाउन ५४ सिटसहितको मोर्चा संसद्मा निर्णायक रहनेछ । तर, मोर्चा गठनपछि संसद्को सत्ता समीकरणका विभिन्न विकल्पलाई साँघुरो बनाउने काम गरे पनि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भइरहेका संवादले दाहाललाई झस्काएको छ ।

मुख्य पृष्ठ

शैक्षिक मेला नरोक्न महानगरलाई अन्तरिम आदेश

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ‘कान्तिपुर हिसान शैक्षिक मेला’ शुक्रबारदेखि भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ । गत बिहीबार सुरु मेलामा काठमाडौं महानगरपालिकाले रोक लगाएको थियो । त्यसविरुद्ध निजी शैक्षिक संस्था सञ्चालकहरू उच्च अदालतमा निवेदन लिएर गएका थिए । बुधबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले महानगरपालिकाले रोक लगाएको मेलामा हस्तक्षेप नगर्न अन्तरिम आदेश दिएको छ । आदेशअनुसार ३२ गतेदेखि अवरुद्ध शैक्षिक मेलालाई निरन्तरता दिने बाटो खुलेको हो ।
अदालतको आदेशसँगै आयोजक हिसानका महासचिव लोकबहादुर भण्डारीले शुक्रबारदेखि आइतबारसम्म ३ दिन मेला सञ्चालन गर्ने बताए । ‘काठमाडौं महानगरले रोके पनि स्टलहरू त्यहीं छन्, मेला सञ्चालन हुन्छ,’ उनले भने, ‘विद्यार्थी, अभिभावकलाई अवलोकनमा आउन आग्रह गर्छौं ।’ कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर मेला आयोजना गरिएको थियो । मेलाबाट शिक्षण संस्था परिचय, शैक्षिक सूचनालगायत विविध जानकारी दिने उद्देश्य आयोजकको छ । एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी र तिनका अभिभावकलाई मेला उपलब्धिमूलक हुने भण्डारीले बताए ।
जेठ ३२ मा सभामुख देवराज घिमिरेले मेलाको उद्घाटन गरेका थिए । लगत्तै महानगर प्रहरीले सञ्चालनमा रोक लगाएको थियो । अदालतले मेला सञ्चालनलाई अनुचित रूपमा अवरोध गर्ने र सामग्री कब्जामा लिने कार्य प्रथम दृष्टिमा नै वैध मान्न नसकिने जनाएको छ । ‘सामग्री निवेदक संस्थालाई नै उपयोग गर्न दिनू, एडुफेयर मेला सञ्चालन सन्दर्भमा गर्ने तयारी तत्सम्बन्धी कामकारबाही गैरकानुनी रूपमा अवरोध वा हस्तक्षेप गर्ने जस्ता अनधिकृत कार्य नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि मुलुकी देवानी कार्यविधि २०७४ को दफा १५८ र उच्च अदालतको नियमावली २०७३ को नियम ४२ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ ।
मेला आयोजक उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले अन्तरिम आदेश माग गर्दै आइतबार अदालतमा रिट निवेदन दिएको थियो । अन्तरिम आदेशका लागि हिसान र महानगर दुवैलाई छलफलमा बोलाउन न्यायाधीशले आदेश दिएका थिए । दुवै पक्षको छलफलपछि मेला सञ्चालन गर्न अन्तरिम आदेश जारी भएको हो ।

हिसानले मेलामा बिनाकारण हस्तक्षेप गरेकामा १५ करोड क्षतिपूर्तिको मागसमेत गरेको छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकालाई जानकारी दिएर मेला आयोजना गरिएको थियो ।
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित मेलामा काठमाडौं विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालय, सीटीईभीटीबाट सम्बन्धन पाएका ७५ कलेज र शिक्षण संस्थाको सहभागिता रहेको छ । मेला रोकिएकामा निजी शिक्षण संस्था सञ्चालकले आपत्ति जनाएका थिए भने संसद्मा समेत कुरा उठेको थियो । मेला रोकिएको बारे महानगरपालिकाले सूचना वा जानकारीसमेत नदिएर कानुनविपरीत कार्य गरेको अदालतले जनाएको छ । आयोजकले मेला सञ्चालनबारे महानगरलाई निवेदन दिए पनि उसले कुनै निर्देशन, ध्यानाकर्षणबिनै मेलामा हस्तक्षेप गरेको थियो ।

 

Page 2
म्यागेजिन

ट्यांकीमा लाखौं लगानी, धारा न पानी

- कान्तिपुर संवाददाता

 

 

सप्तरीको सदरमुकाम राजविराजबाट दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकाको सखडामा झट्ट हेर्दा भ्युटावरजस्तो देखिने
पानीट्यांकी छ । गाउँपालिकाका अध्यक्ष हुन् २७ वर्षीय विद्यानन्द चौधरी । उक्त पानीट्यांकी निर्माण हुँदा उनी ४ वर्षका थिए । उनी भन्छन्, ‘उखरमाउलो गर्मी छ तर न ट्यांकीमा पानी छ न धारामा, गाउँले यही ट्यांकी हेरेर अझै पनि पानी आउने आस गर्छन् ।’
आर्थिक वर्ष २०५६/५७ मा निर्माण पूरा भएको सखडा खानेपानी आयोजनाको पाइपलाइन पनि थियो । आयोजना तयार भएर पानी वितरण सुरु हुँदा नहुँदै वर्ष दिनपछि सडक खन्ने काम सुरु भयो । त्यसले पानी वितरणको प्रणाली क्षतिग्रस्त भयो । त्यसपछि न ट्यांकी सञ्चालनमा आयो, न त धारामा पानी पुनः आउने बनाउन कोही अघि सर्‍यो । अध्यक्ष चौधरीका अनुसार पालिकाले यो ट्यांकीमा पानी भरेर वितरण सुरु गर्न ८७ लाख रुपैयाँ लाग्ने लागत इस्टिमेट गरेको छ । तर बजेट नहुँदा सखडाको खानेपानी आयोजनाको ट्यांकीमा झार उम्रिएको छ ।
बढ्दो सुक्खाका चापाकलहरू सुकेका छन् । तर गाउँको जुनसुकै कुनाबाट पनि देखिने पानीट्यांकी सुक्खा छ । ‘खानेपानीसँग सम्बन्धित कागजपत्र ३ पटक मागिसकें,’ अध्यक्ष चौधरीले भने, ‘तर, खानेपानी कार्यालयले मतलब गरेको छैन ।’ यो ट्यांकीबाट पानी वितरण हुन सके छिन्नमस्ता गाउँपालिकाको सखडा, गोविन्दपुर र महुवाका बासिन्दा लाभान्वित हुने थिए ।
सखडाकै जस्तो कथा छ, पर्साको बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीमा । ५२ वर्षीय राजेन्द्र साहको घरछेउमै छ, १ करोड ८५ लाख रुपैयाँमा निर्माण भएको पानीट्यांकी । तर, उनी पानी लिन टाढाको चापाकलमै धाउँछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले १५ वर्षअघि निर्माण गरेको पानीट्यांकी अहिलेसम्म सञ्चालनमा ल्याइएको छैन ।
करोडौं लागतमा बनेका खानेपानीका ट्यांकीहरू सञ्चालनमा आउन नसक्दा सरकारी रकमको उपादेयतामाथि त प्रश्न
उठेको छ नै, खानेपानीको संकट बेहोरिरहेका स्थानीयवासी विकासको यो शैलीबाट आफूलाई गिज्याउने काम भएको महसुस गरिरहेका छन् ।
चुरे वनसँग जोडिएको सिरहाको उत्तरवर्ती तरेगनाका डोरबहादुर समालले खानेपानीको समस्या झेलेको १६ वर्ष भइसक्यो । फागुनदेखि जेठसम्म उनका लागि खानेपानी जोहो नै ठूलो पिरलो बन्छ । यसपाला त फागुनको सुरुवातमै टोलको इनार सुकेपछि उनी छिमेकी गाउँको इनार धाउन बाध्य भए । ५२ वर्षीय डोरबहादुरले सुनाए, ‘त्यो इनारको पानी पनि सुक्ने अवस्थामा छ । धेरै धान्लाजस्तो छैन ।’
खानेपानीको अभाव टार्न लहानस्थित खानेपानी डिभिजन कार्यालयले आर्थिक वर्ष २०६४/६५ मा ३० लाख लागतमा डोरबहादुरकै गाउँमा ओभरहेड ट्यांकी निर्माण गर्‍यो । जसबाट यस क्षेत्रका १ हजार ५ सय घरधुरीका ४ हजार ५ सय २० जनसंख्यालाई घरघरमा धारा पुर्‍याउने लक्ष्य राखिएको थियो । तर ट्यांकी बनेको वर्षौंसम्म पनि सञ्चालनमा नल्याउँदा स्थानीयवासीमा निराशा छ । ‘पहिलो वर्ष बोरिङ गाडेपछि पानी पाउने आशा जागेको थियो,’ स्थानीय ७० वर्षीय बुद्धि मग्रातीले भने, ‘गाउँले उत्साहित भए । तर बर्सेनि एउटा–एउटा काम मात्र गर्न थालेपछि आकाशको फल आँखातरि मरजस्तै भएको छ ।’ उनका अनुसार १६ वर्ष अवधिमा जम्मा ओभरहेड ट्यांकी, बोरिङ, बोरिङघर, बाउन्ड्री वाल, पाइप जडान गरेर छाडिएको छ । खानेपानी डिभिजन कार्यालयले अहिलेसम्म उक्त आयोजनामा ३ करोड २८ लाख ५१ हजार खर्चिसकेको छ । तरेगना, गोविन्दपुर, दौलतपुर, एकरतिया, बलानसेरसहित एक दर्जन गाउँमा
सुलभ खानेपानीका लागि घरघरमा धारा जडान गर्न संसदीय कोषबाट २५ लाख रुपैयाँ खर्चिए पनि आयोजना पूरा हुन सकेको छैन । वर्षौंदेखि तरेगनावासीले सुलभ खानेपानी पाउनु त परको कुरा ‘ओभरहेड ट्यांकी’ हेरेर पानीको तिर्सना मेट्नुपरेको छ ।
सिरहाको चुरे क्षेत्र मात्र होइन, सीमावर्ती भगवानपुर गाउँपालिका–५ इनर्वा गाउँमा २०६३ सालदेखि खानेपानी आयोजना निर्माण सुरु भयो । आयोजना ३ वर्षभित्रै सम्पन्न गरिने लक्ष्य थियो । तर १७ वर्ष पुग्न लाग्दा पनि आयोजना पूरा भएको छैन । पानी तान्न ३६ लाख रुपैयाँ खर्चेर २ वटा बोरिङ गाडिएको छ, ओभरहेड ट्यांकीदेखि कार्यालयको पक्की घरसमेत निर्माण भइसकेको छ । ३ हजार घरपरिवारमा पानी पुर्‍याउने लक्ष्यअनुसार पाइप जडानको काम पनि भइसकेको छ । जसमा १ करोड २५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर स्थानीयको घरघरमा धारामा पानी पुगेको छैन । खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत रहेका बुधेश्वर यादवले खानेपानी कार्यालयको बेवास्ताका कारण आयोजना पूरा हुन नसकेको बताए ।
भूमिगत खानेपानीको स्रोत गहिरिँदै गरेको मधेशमा खानेपानीको विकल्पमा सरकारले ओभरट्यांक खानेपानी आयोजनाको काम थालेको देखिन्छ । तर वर्षौंसम्म यस्ता आयोजनाहरूको सञ्चालन नहुँदा करोडौंको लगानी खेर गइरहेको छ । कतिसम्म भने सप्तरी, सिरहा र पर्सामा २५ वर्षअघि निर्माण सकिएको ओभरट्यांकी प्रयोगमा आउन नसकेको देखिन्छ । खानेपानी कार्यालयले मतलब नगर्ने, पालिकाले प्राथमिकतामा नराख्ने र उपभोक्ताले चासो नदेखाउँदा खानेपानी ट्यांकीको सञ्चालन अनिश्चित बनिरहेको छ ।
लहान–२४ मलहनमा गाउँमा २०६९/७० मा खानेपानी आयोजना बन्न सुरु भयो । जसका लागि विद्युतीकरण भयो, कम्पाउन्ड वाल निर्माण भयो, बोरिङ गाडियो, पक्की घर बन्यो र एक करोडभन्दा बढी खर्चेर ओभरहेड ट्यांकी बनाइयो । तर घरघरमा पुर्‍याउन न पाइपलाइन विस्तार गरियो, न त धारा जडान, आयोजना त्यसै अलपत्र छ । ‘गाउँमा खानेपानी अभाव छ । इनार, पोखरी र खोलाको पानीले खाने र गाईबस्तुलाई दिनुपर्छ,’ स्थानीय राजकुमार राउत कुर्मीले भने, ‘तर, आयोजनाको खानेपानी सुरु हुन सकेको छैन ।’ सप्तरीको हनुमाननगरमा खानेपानी आयोजनाको निर्माण सुरु भएको २२ वर्ष बित्यो । ६ करोडको लागतमा आर्थिक वर्ष २०५७/५८ देखि नै हनुमाननगर कंकालिनी–७ मा आयोजनाको काम थालिएको थियो । तर, १० वर्षदेखि त्यसै ठप्प छ । निर्माण अलपत्र छाडिएकोमा कसैले सोधखोज गर्दैन ।
सप्तरीमा खानेपानीका ४१ वटा आयोजना प्रयोगविहीन छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका निमित्त प्रमुख अजय कर्णका अनुसार २० वर्षयता सप्तरीमा संघीय सरकारको ३३ र प्रदेश सरकारको ८ वटा गरी ४१ वटा खानेपानी आयोजना निर्माणाधीन छ । सानातिना काम नहुँदा अधिकांश आयोजना प्रयोगमा नआएको उनले बताए । ‘कतिपय आयोजनाको ट्यांकी निर्माण, भवन, बोरिङ, घेराबेरा भए पनि पाइपलाइन विस्तार हुन सकेको छैन,’ उनले भने, ‘बजेट पर्याप्त नआउँदा पनि आयोजना प्रयोगमा ल्याउन ढिलाइ भइरहेको हो ।’
सिरहाका उतरवर्ती तरेगना, चन्द्रलालपुर, चन्द्रोदयपुर, जमदह, धनगढी, अयोध्यानगर, विष्णुपुरकट्टी, गोविन्दपुर, बस्तीपुर बस्ती खानेपानीका लागि संकटग्रस्त क्षेत्र हुन । हिउँदमा गाउँले ३ किलोमिटरसम्म परबाट पानी ल्याउँछन् । खानेपानी संकटग्रस्त
ती क्षेत्रमा खानेपानी डिभिजनले २०६३ सालदेखि ओभरहेड
ट्यांकीसहितको खानेपानी आयोजना निर्माण थाल्यो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका अनुसार संकटग्रस्त क्षेत्र पहिचान गरी सिरहामा ट्यांकीसहितको
७६ वटा आयोजना सुरु गरिएको छ । तर, सिरहाका विभिन्न ठाउँमा १७ वर्षयता १२ वटा आयोजनामा मात्रै काम पुरा भएको प्रमुख कर्णले बताए ।
‘एकैपटक धेरै योजना बनाउनुको आलोपालो दुइटा/दुइटा मात्र अघि बढाएको भए एक दशकको अवधिमा सबै तयार हुन्थ्यो,’ उनी भन्छन्, ‘योजना छनोट र प्राथमिकीकरणमा तालमेल नभएको हो ।’ सिरहा र सप्तरीका लागि क्रमागत बजेटमा चालु वर्षका
लागि १६ करोड रुपैयाँ खानेपानीका पूर्वाधारका लागि विनियोजन गरिएको थियो ।
कतिपय खानेपानी योजनमा ट्यांकी निर्माणका क्रममा गुणस्तरमा सम्झौता गर्दा काम अलपत्र छन् । पर्साको भिस्वामा १ करोड ७८ लाख रुपैयाँ खर्च भएको योजना १२ वर्षदेखि अलपत्र छ, किनकि ट्यांकी नै चुहिन्छ । स्थानीय राजाकुमार पटेलका अनुसार पानीट्यांकी समुदायमा हस्तान्तरण नहुँदै चुहिन थालेपछि उपभोक्ता समितिले जिम्मा लिन मानेन । खानेपानी कार्यालयका एक कर्मचारीले आफ्नै परिवारका एक सदस्यको अध्यक्षतामा उपभोक्ता समिति बनाएर जिम्मा लिए तर सञ्चालनमा भने ल्याइएन ।
पर्सामा खानेपानी योजना निर्माण परियोजना २०५४ देखि सुरु भएको देखिन्छ । एउटा योजनामा डिप बोरिङ गर्ने, पम्प हाउस, जेनेरेटर हाउस, पाइप, चौकीदार क्वाटर, भल्भ चेम्बर, कम्पाउन्ड वाल, जग्गा खरिदलगायतको काम गर्नुपर्ने हुन्छ । चापाकलमार्फत उपभोक्ताले सजिलै खानेपानी उपभोग गरिरहेकाले पानीट्यांकीको सान्दर्भिकता नरहेको स्थानीयबासी बताउँछन् । ‘विगतमा जिल्ला विकास समिति हुँदै हाल पालिका, प्रदेशका नेता र केन्द्रका सांसदले समेत मागबमोजिम प्रत्येक वर्ष चापाकल वितरण गरिरहेका हुन्छन्,’ महुवनका रमेश पटेल भन्छन्, ‘योजनामा एकरूपता नहुँदा करोडौं लगानी गरिएका पानीट्यांकी उपयोगहीन छन् ।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका पर्साका प्रमुख किशोरी यादवका अनुसार ग्रामीण क्षेत्रमा महसुल तिरेर पानी उपभोग गर्ने चलन नभएकाले पानीट्यांकी उपयोग नभएका हुन् । ‘पानीट्यांकी निर्माण भएपछि हामी उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौं,’ उनले भने, ‘समितिले पानी बिक्री गरी विद्युत् खर्च र अपरेटरको तलब दिनुपर्ने हुन्छ ।’ अलपत्र परेका पानीट्यांकी सञ्चालनका लागि स्थानीय पालिकाले पनि पहलकदमी लिनुपर्नेमा उनले जोड दिए । ‘हामी बिनाक्वालिटीको पानी खान्छौं,’ उनले भने, ‘तर, केही पैसा तिरेर गुणस्तरीय पानी खाने बानी छैन । यसका लागि सरकारले जनचेतना फैलाउन आवश्यक छ ।’ लामो समयदेखि अलपत्र पानीट्यांकी अहिले सञ्चालनको मागसमेत आइरहेको यादव बताउँछन् । कतिपय ठाउँमा भने आवश्यकताबिना नै खानेपानीको ओभरट्यांक बनाएर बजेटको चरम दुरुपयोग गरिएको छ । यसकै उदाहरण हो, झन्डै दुई दशकअघि ७५ लाख लागतमा पर्साको पोखरियामा निर्माण भएको पानीट्यांकी । अचम्म त यो छ कि सञ्चालनमै नआएको यो पानीट्यांकीको मर्मतसम्भार शीर्षकमा भने २६ लाख रुपैयाँ खर्च भइसकेको छ ।
पोखरियाका ४ सय घरधुरीलाई पानीको सहज आपूर्तिको लक्ष्य राखी यो योजना निर्माण गरिएको थियो । स्थानीयवासी सहज रूपमा पानी उपलब्ध हुने क्षेत्रमा पानीट्यांकी निर्माण भएकाले यो अलपत्र परेको बताउँछन् । किनकि यहाँ खानेपानीको अभाव त छैन नै, अधिकांशका घरमै चापाकल छ । पोखरिया निवासी सामाजिक परिचालक धमेन्द्र चौरसियाले स्थानीयले उपभोक्ताको मागविपरीत माथिबाटै योजना ल्याएकाले यो सफल नभएको बताए ।

अवधेशकुमार झा (राजविराज), भरत जर्घामगर (सिरहा) र भूषण यादव (वीरगन्ज)

Page 3
Page 4
युवा ग्यालरी

‘बगान’ मा एकल महिलाको कथा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘बगान’ को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ । आगामी असार २९ गते रिलिज हुने ‘बगान’ मा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारलगायत विषयवस्तु प्रस्तुत गरिएको छ ।
फिल्ममा करिश्मासँगै सरोज खनाल, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतको अभिनय रहेको छ । स्वप्न नीरवको कथामा आधारित फिल्मबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’ का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जीसीको छायांकन, अर्जुन जीसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ ।
फिल्म नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहेका विभिन्न देशमा प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । ‘बगान’ को वितरण काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र डीसीएनले तथा उपत्यकाबाहिर एफडी कम्पनीले गर्दै छ ।

युवा ग्यालरी

म्याराडोनाको 'ह्यान्ड अफ गड’

- कान्तिपुर संवाददाता

सन् १९८६ मा आजकै दिन (जुन २२) मा फिफा विश्वकपमा अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध हातले गोल गरेका थिए । उनको त्यो विवादास्पद गोल ‘ह्यान्ड अफ गड’ ले चर्चित छ ।
मेक्सिकोमा आयोजित विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल खेल चलिरहेको थियो । अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल तनावपूर्ण थियो । कारण दुई देशबीच चार वर्षअघि मात्रै फोकल्यान्ड युद्ध भएको थियो । त्यसैले पनि दुवै देशले उक्त खेल जसरी पनि जित्न चाहन्थे ।
रोमाञ्चक र तनावपूर्ण खेलमा ५१ मिनेट बितिसकेको थियो । तर कुनै पनि टिमले गोल भने गर्न सकेका थिएनन् । त्यही समय म्याराडोना विपक्षी टिमका गोलकिपर पिटर सिल्टनतर्फ उफ्रिए र उनले फुटबललाई आफ्नो हातले गोलपोस्टमा छिराए । हातको प्रयोग भएको भन्दै विवाद सुरु भयो । तर रेफ्रीले त्यसलाई गोलको मान्यता दिए र खेल अघि बढ्यो ।
उक्त विवादित गोलको चार मिनेटपछि म्याराडोनाले अर्को उत्कृष्ट गोल गरे जसलाई ‘शताब्दीको गोल’ भनिन्छ । खेलको ५५ मिनेटमा उनले इंग्ल्यान्डका पाँच खेलाडी र अन्तिममा गोलकिपर सिल्टनलाई छलाउँदै गोल गरेका थिए । पछि इंग्ल्यान्डले ८१ मिनेटमा एक गोल गर्‍यो र खेल २–१ ले अर्जेन्टिनाले जित्यो ।
उक्त खेलपछि म्याराडोनाले भनेका थिए, ‘त्यो गोल थोरै आफ्नो टाउकोले र थोरै भगवानको हातले गरेको थियो ।’ त्यस बेलादेखि नै उक्त गोललाई ‘ह्यान्ड अफ गड’ भन्न थालिएको हो । उक्त खेलपछि इंग्ल्यान्ड विश्वकपबाट बाहिरिएकोमा अभूतपूर्व खुसी मनाएको अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले पराजित गर्दै विश्वकप जितेको थियो ।

युवा ग्यालरी

मास्टर सेफको मिथिला व्यन्जन

- अजित तिवारी

(जनकपुर)
जनकपुरको रामानन्द द्वारबाट थोरै उत्तर लागेपछि एउटा नौलो प्रकारको रेस्टुरेन्ट खुलेको छ । भित्र पस्नेलाई मिथिला आर्टको कुनै ग्यालरीमा पसेजस्तो भान गराउन भित्ताभरि पेन्टिङ छन् । प्रवेशद्वार नजिकै छ, मिथिला चित्र कोरिएका माटोका चारवटा मग, त्यसमा छन् जिब्रो
पड्काउने चार थरी आचार । मिथिलाको कुनै गाउँको झलक दिने रेस्टुरेन्टभित्र पलङ छ, परालको गुन्द्री ओछ्याइएको । बेलायती सञ्चार संस्था बीबीसीको पाककला प्रतियोगिता यूके मास्टरसेफ प्रोफेसनल्स रिम्याच २०२१ का विजेता मास्टर सेफ सन्तोष साहले मिथिलाको ८४ व्यञ्जन पस्कन बुधबारदेखि सञ्चालनमा ल्याएको यो मिथिला थाली रेस्टुरेन्ट हो ।
जनकपुरसँग सन्तोषको बेग्लै सामीप्यता थियो । सिरहा कर्जन्हाका साह बाल्यकालमा जानकी मन्दिर दर्शनका लागि जनकपुर आइरहन्थे । मास्टरसेफमार्फत पाककलाको ख्यातिमा उचाइ चुमेपछि उनी जनकपुर आउँदा उनलाई ५४ किलोको माला लगाएर स्वागत गरिएको थियो । बारम्बारको जनकपुर आउजाउमा उनलाई एउटै कुरा खड्केको थियो, यहाँ रैथाने स्वादको प्रवर्द्धनको खाँचो छ । गतवर्ष जनकपुरमै हुँदा दिउँसो उनलाई भोक लाग्यो । साथीसँग एउटा होटल पुगेर उनले जिरा राइस अर्डर गरे । एक गाँस मुखमा हाल्दै उनले चाल पाइहाले, ‘यो त बासी भात भुटेर ल्यायो ।’ त्यसपछि उनलाई लाग्यो, जनकपुरमा मिठो खाना खुवाउने ठाउँको खाँचो छ ।
यस्तै अर्को तीतो घटना पनि उनीसँग छ । एक पटक उनले जनकपुरमा रिक्सावालालाई सोधे, ‘यहाँ मिठो खाना कहाँ पाइन्छ ?’ रिक्सावाला एकछिन गम खाए तर केही बोलेनन् । यी दुई अनुभवले उनलाई केही गर्न घचघच्यायो । ‘जनकपुरका लागि एउटा राम्रो एडिसन हो मिथिला थाली,’ मास्टर सेफ साहले भने, ‘जनकपुरको खाना अन्डररेटेड थियो । त्यसैले मेरो पहिलो रेस्टुरेन्ट जनकपुरमा खोलेका छौं ।’ मिथिला थालीको उद्घाटन सन्तोष र उनकी आमालेगरे । २४ थरीका परिकार बनाइएका पहिलो दिन खाना खान र फोटो खिचाउन आउनेको भीड लाग्यो । भीड धेरै भएपछि खानपिनको व्यवस्थापनका लागि निकै गाह्रो परेको थियो । ‘सुरुवातमै मिथिलाको खानालाई माया गर्नेको भीड देखेर म उत्साहित छु,’ उनले भने ।
उनका अनुसार मिथिला थालीमा पस्किने खानाका १५ थरीका परिकार नियमित हुनेछन् । बिरियाको साग (मधेशको गुन्द्रुक), करीबरी, आलु चोखा, आलुको भुजिया, चार किसिमको तरुवा (आलु, परवल, भान्टा, लौका), तिरौली–फुलौरी, माछा, मिथिलामै उत्पादन हुने चामलको भात, तरकारी र रहरको दाल । त्यसमाथि आगोमा तताएर ल्याएको घिउ । ‘हामीले खानाको परिकारमा कुनै सम्झौता गर्दैनौं,’ सेफ सन्तोषले भने, ‘खानाको गुणस्तर र स्वादलाई उत्तम बनाउन भान्सामा ८ जना सेफ छन् ।’ मिथिला थालीमा दुईवटा भान्सा छ । एउटा भान्सा मिथिलाको देहातमा हुनेजस्तै बनाइएको छ । माटोको चुलोमा दाउरामा पकाइन्छ खाना । सिलौटोमा पिसिन्छ मसला । मिथिला खाना बनाउनका लागि भान्सामा ५ जना छन् । ‘मिथिला थाली सस्तो र मिठो छ । ननभेज र भेजको अलग–अलग भान्सा छ,’ सन्तोषले भने, ‘मिथिला खानाको भान्सामा एकल महिलालाई प्राथमिकता दिएको छु । उनको बच्चालाई हामी नै पढाउँछौं र मिथिला खानाको बिक्री हुने हरेक थालीको ३ रुपैयाँ अनाथालयलाई दिन्छौं ।’
हिमालय ग्लोबल इन्भेस्मेन्ट कम्पनीमार्फत करिब दुई करोडको लगानीमा सन्तोषले मिथिला थालीको पहिलो आउटलेट जनकपुरमा खोलेका हुन् । मिथिला थालीमा उनले यहाँका महिलालाई जोड्न खोजेका छन् । अदौरी, कुम्रौरी, बिरिया, तिलौरी साहको टिमले गाउँ–गाउँबाट संकलन गरेर ल्याउँछ । मिथिलाको यो परिकार बनाउन साहले गाउँ–गाउँमा महिला समूह बनाएर आयआर्जनका लागि काममा लगाएको छ । ती महिला समूहबाट मिथिला थाली रेस्टुरेन्टले बिरिया १ हजार ७ सय रुपैयाँ किलो र तिलौरी ५ सय रुपैयाँ किलो खरिद गर्छन् । ‘हामीले बजार भाउभन्दा बढी नै मूल्य दिएका छौं,’ सन्तोषले भने, ‘स्टोरेज बनाएर तरकारी, बिरिया, तिलौरी सबै राखिएको छ । मिथिला थालीमा यो परिकार खान पनि पाइन्छ । कोसेली लिएर जान पनि पाइन्छ ।’
मास्टर सेफ सन्तोषको लक्ष्य महत्त्वाकांक्षी छ । उनले आगामी ५ वर्षमा आफ्नो रेस्टुरेन्टका मिथिला थालीका एक सय शाखा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । अब, उनी दोस्रो आउटलेट कतारको दोहामा खोल्दै छन् । मिथिला थालीलाई विश्वव्यापी गर्ने उनको अभियानमा हिमालय ग्लोबल इन्भेस्टमेन्ट कम्पनीका दीपक श्रेष्ठ, रोबट विश्वकर्मा र सविन महर्जनले साथ दिएका छन् ।
‘दोहामा मिथिला थालीको डिमान्ड छ । त्यसैले अर्को ब्रान्च छिट्टै दोहामा खोल्दै छौं,’ सन्तोषले भने, ‘काठमाडौंमा थकाली खानाको मात्र हजारजति होटल छ । अब काठमाडौंलाई पनि मिथिला थाली खुवाउनेछौं ।’ कतारको दोहामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका कामदार प्रशस्त छन् । उनीहरूले खाने दालभात नै हो । ‘दोहामा साताको एक पटक मात्रै यी देशहरूका कामदार खाना खान आए पुग्छ,’ उनले भने, ‘दोहामा २ देखि ३ डलरमा मिथिला थाली बेच्ने हाम्रो योजना छ ।’
दोहा, पोखरा, मुग्लिन, काठमाडौं, वीरगन्ज, विराटनगरलगायत ठाउँमा ५ वर्षमा मिथिला थालीका शाखा सञ्चालनमा ल्याउने दाबी उनले गरे । मिथिलाको रेसेपी विश्वव्यापी बनाउने अभियान रहेको उनले बताए । ‘मलाई धेरैले धेरै ठाउँबाट एप्रोच गर्छन् रेस्टुरेन्ट खोलौं भनेर,’ उनले भने, ‘म चाहेको भए जहाँ खोल्न सक्थें । तर, जनकपुरमा पनि मिठो खाना पाइन्छ भनेर पहिलो आउटलेट यहाँ खोलेको हुँ । अब अरू ठाउँमा मिथिला थाली खुल्दै जान्छ ।’

युवा ग्यालरी

मौरीघार उद्योगले फेरियो जीवन

- विप्लव महर्जन

(सल्यान)
शारदा नगरपालिका–१० नयाँगाउँका बालु कवर कक्षा तीनमा पढ्दै गर्दा बाबुको निधन भएपछि आर्थिक अभावमा पढाइ छाडेर १३ वर्षको उमेरमा कमाउन भारतको कालापहाड गए । बाबुको निधनले आमा तथा भाइबहिनीको लालनपालनको जिम्मेवारी थपिएपछि उनले दुई दशकभन्दा बढी भारतका विभिन्न ठाउँमा मजदुरी गरे । मजदुरी गर्दा कमाएको रकम उनलाई घर खर्च चलाउनभन्दा खानबस्नमै ठिक्क भयो । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर उनी २०७२ मा घर फर्किए । उनले घरमै मौरीघार उद्योग सञ्चालन गरे । उद्योग सञ्चालन गरेको दुई वर्षजति घाँटामा गए तर हार मानेनन् । उनै कवर अहिले जिल्लाको राम्रो उद्योगीका रूपमा परिचित भएका छन् ।
प्रत्येक वर्ष हजारभन्दा बढी मौरीघार बिक्री गरेर उनले वार्षिक ३० लाखको कारोबार गर्दै आएका छन् । झन्डै एक लाख ऋण लिएर उद्योग सञ्चालन गरेका उनी अहिले अरूलाई ऋण दिन सक्ने हैसियतमा पुगेका छन् । विगतमा कसैले नचिन्ने मान्छे उद्योगबाटै जिल्लाभरि चिनिन थालेका छन् । उद्योग सञ्चालनपछि प्रत्येक वर्ष प्रतिगोटा ३ हजारका दरले एक हजारभन्दा बढी मौरीघार बिक्री गर्दै आएका छन् उनले । विगतमा बेरोजगारको समस्याले मजदुरीका लागि भारतका विभिन्न ठाउँमा पुग्ने गरेका कवर उद्योग सञ्चालन गरेपछि अहिले सिजनअनुसार ३/४ जनालाई घरमै रोजगार दिँदै आएका छन् ।
भारतका विभिन्न स्थानमा लामो समय बसेर काम गर्दा कमाइभन्दा खर्च बढी भएकै कारण आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने पाठ सिकेर मौरीघार निर्माण उद्योग सञ्चालन गरेको उद्योगी बालु कवरले बताए । ‘मौरीघार बनाउन मलाई कसैले तालिम दिएको थिएन । कालिमाटीका एक किसानले काठमाडौंबाट घार किनेर ल्याई बिक्री गरेको देखेको र शिवशक्ति मौरीघार उद्योग दाङबाट प्रेरित भएर मैले २०७३ मा उद्योग सञ्चालन गरे,’ उनले भने, ‘तालिम नलिएको हुँदा सुरुमा धेरै गाह्रो भयो । करिब एक महिनाको प्रयासपछि बल्ल मौरीघार बनाउन सिके ।’
सुरुसुरुमा उत्पादित वस्तु बिक्री गर्नका लागि विभिन्न स्थानमा गरी पाँच ठाउँमा उद्योग सारेको र अहिले घर नजिकै जग्गा भाँडामा लिई सञ्चालन गरिरहेको उनले बताए । ‘गत वर्ष दुई लाखमा घर नजिकै जग्गा किनेकाले अब आफ्नै जग्गामा उद्योग सारेर सञ्चालन गर्ने सोचमा छु,’ उनले भने । गत वर्षदेखि सल्यानबाट मात्र नभई रुकुम, जाजरकोटबाट पनि मौरीघारका लागि माग आउन थाल्यो । कृषि विकास कार्यालय सल्यानले मौरीघार निर्माणका लागि युवा लक्षित कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा आधुनिक मेसिन उपलब्ध गराएपछि अहिले दैनिक एक देखि दुईवटा घार बनाउँदै आएको उनको भनाइ छ ।

Page 5
अन्तर्वार्ता

'बजेट नसच्याए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

- कान्तिपुर संवाददाता

 

प्रतिनिधिसभामा बजेटमाथि निरन्तर छलफल चलिरहेका बेला मंगलबार दिउासो जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत भने पार्टी कार्यालय बुद्धनगरमा कार्यकर्ता भेटघाटमा व्यस्त थिए । त्यो व्यस्तता बजेट छलफलप्रतिको बेवास्ता पनि थियो । किन त ? ‘कर्मकाण्डी छलफलमा किन बसिरहनु भनेर, उपलब्धि हुने भए त दिनभर बसिहाल्थ्यौं,’ उनको जवाफ थियो । उनै राउतसाग पहिलो पटक सांसद हुादाको अनुभव, मधेशका मुद्दा, सरकारले ल्याएको बजेट तथा दाहाल सरकार र जसपा अध्यक्ष उपेन्द्र यादवसागको सम्बन्धमा केन्द्रित भएर कान्तिपुरका उमेश चौहान, कृष्ण आचार्य र जयसिंह महराले गरेको कुराकानीको सम्पादित अंश :

 

संसदीय राजनीतिमा तपाईंको चढाइ तीव्र गतिमा भयो । कम्प्युटर इन्जिनियरको पढाइ, युरोप र अमेरिकामा जागिर, त्यसपछि नेपालमा आएर स्वतन्त्र मधेश आन्दोलन र अहिले सार्वभौम संसद्को सदस्य । यो गतिलाई तपाईं कुन रूपमा हेर्नुहुन्छ ?
अरूलाई तीव्र लाग्ला, हामीलाई त धेरै लामो अवधि देखिन्छ । रिलेटिभिटीको सिद्धान्तले भनेजस्तै हो खासमा । हामीले संघर्ष धेरै गर्‍यौं । एकेडेमिक रूपमा पनि जहाँ थिएँ, त्यहाँबाट कम्प्युटर साइन्टिस्टसम्म पुग्नलाई धेरै लामो संघर्ष छ । त्यहाँबाट फर्केर राजनीतिमा छिर्न, राजनीतिक आन्दोलन गर्न र त्यहाँबाट अवतरण भएर निर्वाचित हुँदै संसद्सम्म पुग्न त युग बितेजस्तो लाग्छ । तैपनि हामी छौं । कतै न कतै अपेक्षाअनुसार काम गर्न खोज्दै छौं, अगाडि बढ्दै छौं ।
कुनै बेला सीके राउतको अन्तर्वार्ता लिँदा राज्यले एक्सन लिने अवस्था थियो । अहिले त्यही राज्यको संसद्मा तपाईंले हरेक दिनजसो उपस्थिति जनाइराख्नुभएको छ, आफ्नो फरकमत दर्ज गरिराख्नुभएको छ । यो देशको व्यवस्था, यहाँका जनताको स्वीकार्यताको स्वभाव र आफ्नो भूमिका, यीमध्ये जस–अपजस कसलाई दिनुहुन्छ ?
तीनवटै पक्षलाई जस जान्छ । सबैभन्दा पहिला त व्यवस्था हो । यहाँ लोकतान्त्रिक गणतन्त्र भएको हुनाले त्यसमा पनि संघीयता आइसकेकाले सबै पक्षलाई मिलाएर लग्न सकिन्छ भन्ने मान्यता व्याप्त छ । त्यसअन्तर्गत नै हामीसँग सम्झौता भएर मूलधारको राजनीतिमा आएका हौं । जनताको स्वीकार्यतालाई पनि म धन्यवाद दिन चाहन्छु । नेपाली जनता उदार दिलका छन् । कसैसँग आशा देख्यो भने तुरुन्तै सराहना गर्ने खालका छन् । तर एउटा त्रुटि भयो भने तुरुन्तै नकार्ने स्वभावका पनि छन् । त्यतातिर हामी अहिले पुगेका छैनौं । व्यक्तिगत रूपमा आफ्नो पनि उत्तिकै भूमिका देख्छु । म शान्तिपूर्ण मार्गमा अडिग रहें, अनेक दुःख यातना भोग्दा पनि देशमै बस्ने निधो गरें । मैले भनेकै थिएँ– मलाई गोली हान्नु छ भने हान्नुस्, जति पटक समात्नु छ, समात्नुस् तर म नेपाल छाडेर जान्नँ । जतिसुकै जे गर्दा पनि शान्तिपूर्ण मार्ग नछाड्ने अठोट थियो । अहिले संसदीय राजनीतिमा आइसक्दा पनि राष्ट्रिय राजनीति र संविधानलाई अंगीकार गरेर हामी अगाडि बढिराखेका छौं ।
सीके राउतको आन्दोलन र मुद्दाले नेपाल खण्डित गर्छ कि भन्ने संशय मान्छेमा थियो । त्यसले पनि आफूलाई चिनाउन वा स्थापित गर्न सहयोग गर्‍यो भन्ने मूल्यांकन गर्नुहुन्छ ?
बोल्ने कुराले मात्रै स्थापित गर्दैन । एकछिन बोल्न त सबैले सक्छन् । त्यसलाई त मिडियाले पनि टिप्दैनन् होला । हामीले लगभग एक दशक अडान नै लियौं, संघर्ष गर्‍यौं । पटकपटक जेल गयौं । तैपनि अडान छाडेनौं । हाम्रो विचारले लाखौं मान्छे प्रभावित भए । आमसभामा आउँथे, सभामा निषेध हुन्थ्यो । गोली चल्ने कुरा हुन्थ्यो तर पनि मानिस भाषण सुन्न आउँथे । त्यसले वैचारिक रूपमा क्रान्तिको स्वरूप धारण गर्‍यो । त्यसो भएर नेतृत्व जन्मिएको हो । नेतृत्व कसैले एक शब्द, एउटा लाइन बोल्दैमा स्थापित हुन्न । अहिले सामाजिक सञ्जालको जमानामा भाइरल होला तर एक हप्तापछि त्यसरी नै सेलाएर जान्छ । शब्दसँगै क्रान्ति जोडिएकाले नेतृत्व स्थापति गर्न सहज भएको हो ।
जुन क्रान्ति भन्नुभयो, त्यसले तपाईंको व्यक्तित्वलाई स्थापित गर्‍यो, नेतृत्वलाई स्थापित गर्‍यो, मुद्दालाई त स्थापित गरेन नि ?
हैन हैन, व्यक्ति त म प्रतिनिधि पात्र मात्रै हुँ । मुद्दालाई ठूलो हदसम्म स्थापित गर्‍यो । एक दशकसम्म मलाई भाषण गर्न किन रोकिन्थ्यो ? व्यक्तिलाई होइन, विचारलाई रोकिएको हो । विचार प्रवाह नहोस् भनेर रोकिन्थ्यो । टेलिभिजनबाट विचार प्रवाह नहोस् भनेर अन्तर्वार्तामा प्रतिबन्ध लगाइन्थ्यो । एक दशकसम्म त्यो विचारले बहसको स्वरूप धारण गरिरह्यो । सीके राउतले किन यो माग राख्यो भनेर मान्छे कमसेकम सोच्न त बाध्य हुन्थे । त्यहाँ विभिन्न डिस्कोर्स पनि चलाइयो । किन स्वतन्त्र हुन खोज्दै छ भन्दाखेरि औपनिवेशिक शासन छ । औपनिवेशिक शासनका प्रमाण के हुन् त भन्दाखेरि सेनाको उपस्थिति, आर्थिक रूपमा शोषण, भाषा र भेषभूषा लाद्ने काम, सांस्कृतिक रूपमा विभिन्न काम, ती सबै प्रमाण हामी दिन्थ्यौं । एक दशकसम्म ठूलो बहस चलेकै हो । अहिले पनि त्यो कतै न कतै निरन्तर रूपमा चलिराखेकै छ । जुन कुरा पहिले भन्ने गरेको थिएँ, त्यसलाई मैले संसद्मा पछिल्लो पटक दोहोर्‍याएँ । मधेशमा अझै औपनिवेशिक शासन छ भन्ने बजेट विनियोजनबाटै देखिन्छ । लगभग २४–२५ प्रतिशत राजस्व मधेशबाट उठ्छ । त्यसको २० प्रतिशत पनि फिर्ता गएन । जति कांग्रेस सभापतिको जिल्लामा गएको छ, त्यसको एक चौथाइ पनि मधेशका कुनै योजनामा गएको देखिँदैन । जुन प्रदेशले राजस्वमा योगदान दिएको छैन, त्यहाँ धेरै बजेट विनियोजन गरिएको छ । कर्णालीको हेर्नुहुन्छ भने त ३९ गुणा बढी बजेट गएको देखिन्छ । मधेशबाट राजस्व उठाउने, जीडीपीमा सबैभन्दा ठूलो योगदान मधेशले दिने अनि बजेट विनियोजन गर्ने बेला १० प्रतिशत मात्रै दिने । यो भनेको आर्थिक औपनिवेशीकरण हो ।
नागरिकताजस्तो आधारभूत आवश्यकता, अधिकार अहिलेसम्म पनि संस्थागत हुन सकेको छैन । मान्छे आत्मदाह गरिरहेका छन् । जबकि संविधानले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनेर स्पष्ट भाषामा लेखिसकेको छ । यहाँ शासन सत्तामा बसेकाहरूले त्यो अधिकार दिन चाहेका छैनन्, नागरिकताको समस्या यथावत् देखिन्छ । भनेपछि त्यतिबेला छेडिएका, बहसमा ल्याइएका जुन मुद्दाहरू थिए, तिनको समापन भएको छैन ।
मधेशमा शिक्षा, स्वास्थ्य, नागरिकता वितरणमा विभेद छ भन्ने राजनीतिक कुरा भयो । त्यो राज्यभित्रको कुरा भयो । कर्णाली, महिला, मधेशी, अल्पसंख्यकलाई कसरी उपेक्षा गरिएको छ भन्ने राज्यभित्रको राजनीतिक मुद्दा भयो । तर मधेशमा सेनाको उपस्थिति र उपनिवेश हो भन्ने छुट्टै राज्यको कुरा भयो । स्वतन्त्र मधेशको मुद्दा अहिले पनि जीवित छ भन्न खोज्नुभएको हो तपाईंले ?
हाम्रो पार्टीले त्यो मुद्दा नबोके पनि आधारभूत कुरा कायमै छन् । यहाँ विभेद कायम छ । सेना त्यति हदसम्म गणतन्त्र बनिसक्दा पनि समानुपातिक समावेशी भएको छैन । मधेश आन्दोलनका क्रममा ८ बुँदे सहमति हुँदाखेरि ३० हजार मधेशीलाई सामूहिक रूपमा सेनामा प्रवेश गराउने भनियो, त्यो लागू भएन । सेना मधेशले दिएको राजस्व र करबाट पालिएको छ । अरू जति पनि औपनिवेशिकका मुद्दा थिए, तीमध्ये धेरैमा यथावत् स्थिति देखिन्छ ।
जस्तै ?
संघीयता आइसक्यो, स्थानीय तहमा अधिकार गइसक्यो । नयाँ जनगणनाअनुसार मुख्य १० जिल्लाको साक्षरता दर सबैभन्दा कम छ, त्यसमा ७ वटा जिल्ला मधेशका छन् । जबकि मधेशले कुनै बेला पूरा नेपाल पढाउने गर्थ्यो । डाँडाकाँडामा गएर पढाइदिने त त्यै हो । आज मान्छेले भन्छन्– कर्णाली पिछडिएको छ, कर्णालीको मानव विकास सूचकांक मधेशको भन्दा बढी छ । जुम्लाको मानव विकास सूचकांक महोत्तरी रौतहटको भन्दा बढी छ । कुनै बेला पढेलेखेको जिल्लामा गनिने सप्तरीको साक्षरता दर जुम्लाभन्दा कम छ । म सप्तरीकै हो । ६१ जिल्ला साक्षर घोषणा भइसक्दा पनि मधेशका कुनै पनि जिल्ला साक्षर भएका छैनन् । यस्तो अवस्थामा शिक्षा मन्त्रालयको बजेट पहिले मधेश प्रदेशमा जानुपर्थ्यो कि पर्थेन ? तर बजेट सबैभन्दा कम त्यही छ । मानव विकास सूचकांक सबैभन्दा कम मधेश प्रदेशको छ, बजेट सबैभन्दा कम त्यहाँ नै गएको छ । साक्षरता दर सबैभन्दा खराब मधेशको छ, बजेट कम त्यहाँ गएको छ । हरेक आयाममा त्यो देखिन्छ । विकासको कुरामात्रै हैन, अरू क्षेत्रमा पनि अनुदार नीति राज्यले लिएको छ । भूमिसुधारका मापदण्ड लगायत सबैमा दोधारे नीति अझै पनि छ । दुर्भाग्य, विगतमा त्यो आवाजलाई मुखरित गर्ने आन्दोलन थियो, मधेश आन्दोलन थियो, शक्तिहरू थिए । अहिले क्षीण भएको अवस्थामा अझ सशक्त तरिकाले शोषण गर्ने क्रम अगाडि बढेको छ ।
मधेशमा विभेद छ भन्ने कुरामा शंका छैन । तर त्यो विभेदलाई सम्बोधन गर्ने सम्पूर्ण जिम्मेवारी नेपाल राज्यको हो भन्ने विषयमा तपाईंलाई अझै शंका छ ?
राज्यले गर्ने हो तर राज्यको नियत त्यस्तो देखिँदैन । म अझै पनि राज्यलाई सबैभन्दा ठूलो दोषी देख्छु । नागरिकतामा नै हेर्नुस् न । एउटा पार्टी, समूहले त्यसलाई ल्याउन खोजे अर्कोले रोक्छ, अर्कोले ल्याउन खोजे अर्कोले रोक्छ । यो मिलिभगत हो । नागरिकता जस्तो आधारभूत कुरा संविधानमा लेखिसक्दा पनि पाइराखेको छैन । सम्बोधन गर्न चाहेका छैनन् । अहिले डमरुवाला खालको संघीयता ल्याइयो । सारा शक्ति या त केन्द्रमा छ या त स्थानीय तहमा, बीचमा साँघुरो पारिएको छ । प्रदेशमा कुनै अधिकार छैन । मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीले टेर्दैन । उसलाई आफ्नो प्रहरी बनाउन दिँदैनन् । जानेरै पनि अधिकार विकेन्द्रीकरण गर्न चाहेका छैनन् । अझ संघीयताप्रति वितृष्णा जगाउने, खर्चिलो छ, कामै नलाग्ने खालको छ भन्ने षड्यन्त्र देखिन्छ । भ्रम छरौं, त्यो आडमा फेरि केन्द्रीकृत सत्ता लादौं भन्ने खालको मानसिकता यहाँ देखिन्छ । संघीयताको सफल उदाहरण त हाम्रो छिमेकमै छ । बिहार, यूपीमा प्रदेश सरकार पावरफुल छ, आफ्नै प्रहरी हुन्छ । सबै कुरा आफैंले गरिराखेको हुन्छ । त्यस्तो खालको संघीयताको उदाहरण छिमेकमा हुँदा पनि हामीले भोग्न पाएका छैनौं ।
तपाईंले सप्तरीबाट निर्वाचन जित्नुभयो तर तपाईंको र पार्टीको देशभरि स्वीकार्यता छ । त्यो भएको हिजोको मुद्दाले हो कि आजको अभ्यासले हो ?
हामीले सुशासनको मुद्दा उठाएका छौं । नेपालमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । हामीले यो एजेन्डालाई पनि लिएका छौं । सेवाप्रवाहलाई मुख्य प्राथमिकता दिएका छौं । शिक्षा, स्वास्थ्य सेवा रोजगारी हुनुपर्‍यो, युवा विदेशिनुभएन भन्ने मुद्दा मधेशका लागि मात्रै होइन, सबैका लागि उठाएका हौं । किसानको समस्या समाधान हुनुपर्‍यो, हिमाल पहाड तराई सबैका समस्या समाधान हुनुपर्‍यो । यी मुद्दाको स्वामित्व लिएपछि र अहिलेको टड्कारो आवश्यकता यही भएपछि आकर्षण हामीप्रति देखिएको छ । राजनीतिक आन्दोलन जति हुनुपर्ने थियो त्यो भयो, व्यवस्थाहरू आए, संघीयता, गणतन्त्र आए । अब आर्थिक क्रान्ति विशाल रूपमा जानुपर्‍यो । जनताको अपेक्षा पनि त्यही छ । हाम्रो पनि एजेन्डा त्यही भएकाले आकर्षण देखिएको हो । उदाउँदै गरेका केही अरू पार्टी छन्, त्यही संयोग भएको हो । अहिलेको प्रणाली भ्रष्ट भयो, डेलिभर गर्न सकेन, हामी गर्छौं भनेर उहाँहरूसँग पनि आकर्षण भएको हो ।
मधेशलाई हेर्ने सिंहदरबारको सोच पुरातनवादी छ । मधेशलाई उत्पीडन गर्ने राजनीतिक संस्कार दोषी छ । तर, मधेशकै राजनीति गर्छु भन्ने राजनीतिक दल र तिनका नेताहरूले पनि मधेशलाई अन्याय गरे भन्ने तपाईंलाई लाग्दैन ?
शीर्षमा राज्यसत्ता प्रमुख जिम्मेवार छ । यसको मतलब मधेशका पात्रहरू दोषी छैनन् भन्ने होइन । उनीहरू पनि कालान्तरमा भ्रष्ट भए, मुद्दाविहीन भए । सत्ता राजनीतिको लोभलालचले एजेन्डा र जनताबाट टाढिँदै गए । निश्चित समूहमा सीमित हुन पुगे । धेरैपल्ट खण्डित भए । यसले आन्दोलन पनि कमजोर भयो । मुद्दा पनि सम्बोधन भएन । जुन सामाजिक आर्थिक कुरा हुनुपर्ने थियो, त्यो भएन । एउटा उदाहरण दिन सकिन्छ । केन्द्रले अधिकार दिएन । संघीयता त थियो । मधेशमा सरकार बनायौं । हामीले समावेशिताको कुरा गर्‍यौं तर मधेश प्रदेशमा दलितलाई मन्त्री बनाउन सकिएन । महिलालाई मन्त्री बनाउन सकिएन । आफैं समावेशिताको नारा दिने तर आफ्नै धरातल एकदम कमजोर भयो । ठेट भाषामा जंगलराज भन्छौं, यसलाई कुशासन भन्दा पनि भयो, सुशासनको अभाव मात्रै भन्दा पनि भयो । आफ्नो प्रतिनिधित्वमाथि पनि भरोसा तोड्ने काम भयो । त्यही कारण पनि जनमत पार्टीको उदय भयो । सामाजिक न्यायको कुरा गर्छौं तर सामाजिक अन्याय लादियो । त्यो अर्थमा पक्कै पनि मधेशकै पात्र र नेतृत्व दोषी छन् । जितेका पार्टीहरूको हरेक कार्यालय, हरेक स्तरसम्मै ठूलो दमन छ । जुन पार्टीहरू सत्तामा छन्, तिनीहरूको ठूलो दमन र सास्ती त्यहाँका जनताले भोग्नुपरेको छ । न्याय व्यवस्थाले सामाजिक न्यायलाई धरापमा पारेर अन्याय नै सिर्जना गरेको देखिन्छ ।
जनतामा एकातिर आशाको उभार हुने तर तपाईंहरूजस्तो नयाँ शक्ति पनि मधेशका हिजोका परम्परागत दलहरूकै शैलीमा अन्तरघुलित भएर एकाकार हुने सम्भावना पनि छ नि !
हामी अन्तरघुलित हुने होइन । तर काम गर्ने क्रममा, फोहोर सफा गर्ने क्रममा फोहोरसँग निकटता हुन सक्छ । अन्तरघुलित हुन हामी आएका होइनौं । त्यसबाट हामी सकेसम्म बच्ने कोसिस गर्दै छौं । अंकगणित नभएकाले हामीसँग संख्या कम छ । संख्या कम भएपछि स्वाभाविक रूपमा मधेश प्रदेशमै वा लुम्बिनी प्रदेशमा सरकार बनाउँदा अर्कोसँग मिल्ने बाध्यता हुन्छ । त्यो सरकार बनाउने बाध्यता भए पनि काम गर्दा प्रतिबिम्बित नहोस् भन्ने चाहन्छौं । त्यो जनमत पार्टीले गरेको काम हो भनेर स्वच्छ रूपले देखियोस् भन्ने चाहन्छौं । हामीले सम्हालेको मन्त्रालय होस् वा कुनै फुटप्रिन्ट छाड्दा ख्याल गर्छौं । संघमा खानेपानी मन्त्रालय धेरै दिन चलाएनौं किनभने त्यो हाम्रो एजेन्डासँग मेल खाँदैन । जुन वाचा गरेर आएका थियौं, त्यसरी खानेपानी मन्त्रालय नचलेपछि निस्कियौं । किनकि हामीले चाहेअनुसार काम गर्न सकेनौं । मधेश प्रदेशमा कृषि मन्त्रालय र शिक्षा मन्त्रालय सम्हालेका थियौं । कृषि मन्त्रालयमा हामीले नयाँ भिजनअनुसार गर्दै गयौं, मुख्यमन्त्रीले रुचाइदिनुभएन । हामीलाई बिनाविभागीय बनाएर एक महिनादेखि राखिएको छ । हामीलाई किनारा लगाइयो । अरूभन्दा फरक तरिकाले सुशासन र भ्रष्टाचाररहित ढंगले काम गर्न खोज्दा ठाउँठाउँमा समस्या झेल्नुपर्‍यो ।
चुनावमा जनमत पार्टीका उम्मेदवार कस्ता छन् भनेर हेरेका थियौं । उनीहरू कुनै बेला पञ्चायत, बीचमा सद्भावना, कांग्रेस, एमाले, माओवादी, फोरममा भएका व्यक्तिहरू थिए । अहिले त्यो सम्पूर्ण बोझ बोकेर जनमतमा आएका छन् । यी पुरानै प्रवृत्ति र पात्रले मधेश र जनताको अपेक्षालाई कसरी सम्बोधन गर्लान् ?
स्वच्छ राजनीतिको अपेक्षा पक्कै पनि हामीमा छ । त्यसका लागि जनता र नेता चाहियो । जनता कुनै मंगल ग्रहबाट ल्याउने होइन, सीमित हुन्छ । त्यो जनता कहिले कांग्रेस कहिले एमाले कहिले माओवादीमा होला । कहिले नानाथरीका पार्टी र पञ्चायतमा पनि होला । नेता पनि त्यहींबाट आउँछ । नेता रातारात जन्मिँदैन । मधेशको परिप्रेक्ष्यमा सामाजिक संरचना र मानसिकता बाध्यात्मक परिस्थितिको छ । त्यस्ता व्यक्तिहरूलाई पनि निर्वाचनमा उठाउनुपरेको हो । जतिसुकै आदर्शका कुरा गरे पनि अन्ततः अंकगणितले अर्थ राख्छ । एउटा सिट पनि नजितेको भए हामी सिनमै हुने थिएनौं । मान्छेलाई बाहिरबाट भित्र्याएर भए पनि केही सिट जित्यौं, मधेश प्रदेश सरकारमा पनि सहभागी हुन पायो, त्यसपछि बल्ल हामी आफ्नो भिजन लगाउने चरणमा छौं । कालान्तरमा आफैंले नेतृत्व विकास गर्न लागेका छौं । त्यसका लागि समय लाग्छ । त्यो भएपछि हामीले टेकओभर गर्ने हो ।
तपाईं र उपेन्द्र यादवबीचको सम्बन्ध तिक्ततापूर्ण देखिन्छ । खासमा के भएको हो ?
तिक्ततापूर्ण सम्बन्ध होइन । म त सहजतापूर्ण सम्बन्ध छ भन्छु । म सप्तरी २ मा निर्वाचन लड्नुभन्दा अगाडि पनि सम्बन्ध राम्रो थियो । हामीले पटकपटक भेट्यौं पनि । एउटै निर्वाचन क्षेत्रबाट नलडौं भन्ने कुरा पनि भयो । एउटैबाट नलड्ने भन्ने समझदारी पनि थियो । अन्तिममा किन त्यस्तो भयो, मलाई थाहा छैन । चुनाव जितेर आइसकेपछि पनि सम्बन्ध राम्रो थियो । जितेर आएपछि पनि पटकपटक भेटें । अग्रजका हिसाबले मार्गदर्शन गर्नुस्, मधेशको एजेन्डामा हामी छौं, लाग्छौं, संसद्मा तपाईंले भनेअनुसार चल्छौं भनेको हो ।
हामी छुट्टै पार्टी भइसकेपछि बाराको उपनिर्वाचनमा आफ्नो उम्मेदवार उठाउनैपर्‍यो । त्यो हाम्रो राजनीतिक धर्म हो, प्रणालीको आवश्यकता हो । त्यसलाई अरूले अर्थ्याइदिने भएकाले अन्यथा भएको हो । मेरोतर्फबाट सम्बन्ध सौहार्दपूर्ण छ तर संवाद अलिअलि कम भएको छ ।
संवाद कम हुनुको अर्थ पनि दूरी छ भन्ने देखिन्छ । मधेशको राजनीतिमा को हाबी हुने भन्ने प्रतिस्पर्धा पनि हो ?
बाहिरी रूपमा त्यस्तो देखिने हो । मधेशको नेता को हुने वा अन्य ठाउँको नेता को हुने भन्ने हामीले भनेर हुने होइन । जनताले म्यान्डेट दिने कुरा हो । त्यो म्यान्डेट दिइराखेकै छन् । एक्सनमा पनि देखिन सक्नुपर्छ । म्यान्डेट गतिविधिमा पनि देखिनुपर्छ । मधेशमा कुनै समस्या भयो भने संसद्मा कुन पार्टीले उठाइराखेको छ ? नागरिकताको मुद्दा कुन पार्टीले उठाएको छ ? मिटरब्याजीको मुद्दा कुन पार्टीले उठाइदिएको छ ? जनमत पार्टीले उठाइरहेको छ । नागरिकता विधेयक पारित गर्न गठबन्धनको हरेक बैठकमा मैले कुरा उठाएको छु । अरू पार्टीबाट उठ्दैनथ्यो ।
उपनिर्वाचनमा यादवविरुद्धको तपाईंको सबैभन्दा तिखो टिप्पणी गौर हत्याकाण्डमा उनको व्यक्तिगत संलग्नताबारे थियो । त्यस्तो संवेदनशील विषयलाई तपाईंले किन चुनावी एजेन्डा मात्र बनाउनुभयो ?
मुद्दा सायद अदालतमा दर्ता पनि भएको छ । हामी मुद्दा उठाउँछौं । त्यतिबेला पनि उठाएका हौं । एकहिसाबले कहिलेकाहीं गति र सन्दर्भ मिल्नुपर्‍यो । त्यसैले कहिले बढी र कहिले कम भएको हो । स्वाभाविक रूपमा निर्वाचनका क्रममा क्रिटिकल रूपमा उठाएको हो । जनताले सुसूचित भएर सही नेतृत्व चयन गर्न सक्छन् भनेर सही समयमा उठाएको हो ।
तपाईंले पटक–पटक बजेटको कुरा उठाइरहनुभएको छ । गत शुक्रबार बजेटमाथि टिप्पणी गर्ने क्रममा ॅसांसदहरू निरीह छन्, औपचारिकताका लागि मात्रै बोल्छन्, समग्र व्यवस्था, संसद्माथि नै प्रहार भएको छ, बजेट ल्याएको हो कि लुटिएको हो ? चार यार मिलेर बजेट लुटे’ भन्नुभएको थियो । खासमा कसलाई के भन्न खोज्नुभएको हो ?
यो देशमा २७५ जनप्रतिनिधि छन् । निर्वाचन क्षेत्रका हिसाबले मात्रै भन्ने हो भने १६५ जनप्रतिनिधि छन् । तपाईं सांसद हुनुहुन्छ, सांसदको काम नीति निर्माण गर्ने हो, तपाईंहरू किन बजेटमा अल्झिनुहुन्छ भन्ने गरिएको छ । किन बजेट खेलाउने काममा लाग्नुहुन्छ भनिन्छ । तर त्यस्तो हैन । बजेट भनेको सबैभन्दा ठूलो र ठोस नीति हो । कुरा गरेर मात्रै भएन, साक्षरता दर यति बढाउनेछौं भनेर मात्रै भएन । त्यसका लागि बजेट विनियोजन गरेपछि मात्रै ठोस रूपमा नीति आएको बुझ्नुपर्छ । बजेट भनेको प्राविधिक रूपमा विधेयक हो । तर यसलाई दुरुपयोग गरिएको छ, कर्मकाण्डी बनाइएको छ । बजेट कसले तयार गर्छ ? मन्त्रीले कि सचिवले कि जनप्रतिनिधिले ? बजेट बनाउनेलाई ७७ जिल्लाका सदरमुकाम सोध्दा थाहा हुँदैन । कुन ठाउँको कुन जिल्लाको आवश्यकता के हो थाहा हुने कुरै भएन । मन्त्री र सचिवज्यूले सिंहदरबारको एसी कोठामा बसेर बजेट बनाउनुहुन्छ । उहाँहरू त जनतासँग जानु पर्दैन । जनताले उहाँलाई प्रश्न गर्दैनन् । पुल बन्यो कि बनेन खानेपानी आयो कि आएन, उहाँलाई सोध्दैनन् । जनताप्रति उत्तरदायित्व भएन । जनताले हिसाब पनि माग्दैनन् । यस्तो बजेट जनप्रतिनिधिले किन बोक्दिनुपर्ने हो ?
बजेटमाथि बिहान ११ देखि ६ बजेसम्म झन्डै एक महिना छलफल हुन्छ । त्यसमा कमा र फुलस्टप परिवर्तन हुने अवस्था रहँदैन । संसद् कसरी सार्वभौमसत्ता सम्पन्न भयो ? जनतामा जाने हामी हौं । जनताले सोध्ने हामीसँग हो, हिसाब माग्ने हामीसँग हो । तर बजेट निर्माणमा हाम्रो योगदान भएन । त्यसो हुनाले एकदम कर्मकाण्डी भयो, संसद् निरीह देखियो । सांसद र संसद् केही गर्न नसक्ने निरीह देखिएकाले समग्र संसदीय व्यवस्थामाथि नै प्रहार भएको हो भन्ने मलाई लाग्छ ।
ॅचार यार मिलेर बजेट लुटे’ भन्नुभएको छ । यसको व्याख्या गरिदिनुस् न ?
चार यार भनेका गठबन्धनका पार्टनरहरू हुन् । कांग्रेस सभापतिको जिल्लामा बजेट हेर्नुस् । अर्को प्रधानमन्त्रीज्यूको जिल्लाको बजेट हेर्नुस् । अर्थमन्त्री र अर्को सम्बन्धित मन्त्रीको जिल्लाको बजेट हेर्नुस् । जुनसुकै मन्त्रालयको फाइल पढ्दा हुन्छ । चार यार मिलेरै वास्तवमा बजेट लुटेका हुन् ।
तपाईं यही संसदीय व्यवस्था मान्छु भन्दै आउनुभएको हो । यो व्यवस्थामा कार्यपालिकाले व्यवस्थापिकामा बजेट पेस गर्ने, त्यसमा छलफल गरेर पास गर्ने र कार्यान्वयन फेरि उसैले गर्ने व्यवस्था छ । योबाहेक के हुनुपर्थ्यो ?
यो दलीय व्यवस्था हो । बडो दुःखका साथ भन्नुपर्छ कि म पनि दलीय व्यवस्थाकै समर्थक हुँ । दलको अध्यक्ष नै हुँ । दलीय व्यवस्थामा ह्वीप जारी गरिन्छ । ह्वीप जारी भएपछि सांसदहरू भोट गर्न स्वतन्त्र हुँदैनन् । दलको निर्णय जे हुन्छ त्यसैअनुसार भोट गर्ने हो । अरू विधेयक वा बजेट पनि भोटिङमा जाने हो । भोटिङमा गइसकेपछि दलले उर्दी मात्रै जारी गरेपछि पास हुन्छ । त्यो मेजर ड्रब्याक हो । सत्तापक्षका सांसदले पनि बजेटमा ठूलो आलोचना गरेका छन् तर अन्तिममा भोट हालिदिन्छन् ।
सांसदहरू भोटिङ गर्न स्वतन्त्र हुँदैनन् भने पार्टीलाई राखिदिए पनि भयो । अरू त चाहिँदै चाहिएन । यो दलले हालेकाले यति भोट आयो भनेपछि त्यहाँ सांसद आवश्यक देखिएन ।
हुनुपर्ने के थियो त ?
कार्यपालिकाले व्यवस्थापिकामा बजेट पठायो, ठीक छ । सच्याउने प्रणाली हुनुपर्‍यो । यो पुगेन है, यसमा यति हुनुपर्छ भन्नुपर्‍यो । बजेट विनियोजनमा संशोधन या त खर्च कटौतीको प्रस्ताव ल्याउन सक्नुहुन्छ । तर यो योजना ठीक भएन यो राख्नुस् भन्न सक्नुहुन्न । सुधार्ने हो भने ह्वीप नलाग्ने गर्नुपर्‍यो या त दलीय व्यवस्था नै हटाएर सांसदलाई स्वतन्त्र बनाउनुपर्छ ।
संसद्मा स्वतन्त्र सांसदहरूको प्रस्तुति राम्रो छ । उहाँहरू आफूलाई लागेको कुरामा बोल्न पाउनुहुन्छ । अरू दलकाले बोले त कारबाही हुन्छ । केही स्वतन्त्र सांसदले बोलेर जनता सुसूचित त भइरहेका छन् । अरू सांसदहरूले पनि राम्रो कुरामा हुन्छ, नराम्रो कुरामा हुन्न भन्न पाउने भए राम्रो हुन्थ्यो ।
तपाईंले पनि राजनीतिमा एउटा विरोधाभास देखाइरहनुभएको छ । एकातिर सरकारले लुट्ने क्रम जारी राखेको छ, वैशाख १२ मा मतपेटिका लुट्यो अहिले बजेट लुट्यो भन्ने, अर्कातिर त्यहीं सरकारलाई समर्थन कायम राख्ने, तर सरकारमा सहभागी नहुने । यो त द्वैध चरित्र भएन र ?
धैर्यता भन्ने पनि कुरा हुन्छ । हामीले सुरुदेखि भनिरहेका छौं कि बजेटसम्म धैर्य राख्छौं । किनभने बजेटकै बेला अकस्मात् खिचातानी गर्‍यो भने नराम्रो असर पर्छ । गठबन्धनलाई स्थिर पार्नका लागि पनि हामी बसिदिएको हो । यसमा हामी पुनर्विचार गरिरहेका छौं । समर्थन कायम रहन्छ भनेर कुनै ग्यारेन्टी छैन । हिजो पनि मैले यस्तै हो भने समर्थन फिर्ता लिने हदसम्म जान सक्छौं भनें । सरकारले १०० काम गर्दा १० वटा चित्त नबुझ्ने पनि हुन सक्छ । हरेक कुरामा चित्त बुझेन भन्दैमा समर्थन फिर्ता लिने कुरा हुँदैन । हरेक काम, गतिविधि नकारात्मक देखिँदै आएको छ । बाराको निर्वाचन होस् वा अहिले उठिरहेको नक्कली शरणार्थी भ्रष्टाचार काण्ड सेलाउने मिलेमतो । बजेटमा असमान विनियोजन भयो । जनमुखी काम नदेखिएकाले हामी पुनर्विचार गर्दै छौं ।
यो पुनर्विचार गर्ने विषयको तय सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रमले हुने हो कि सरकारमा तपाईंहरूले भूमिकाले ?
समग्र बजेटले नै तय गर्छ । बजेटभन्दा अगाडि सुरुदेखि नै स्पष्ट थियौं कि हामी फ्रेस पार्टी छौं । पहिलो पटक आएका थियौं । सरकारमा जानुपर्छ भन्ने जनतालाई पनि पार्नुपर्ने थियो । केही सिट जितेर पनि सरकारमा जान सक्छौं, काम गर्न सक्छौं भनेका थियौं । सेवा प्रवाहका लागि पनि सरकारमा जानैपर्ने हुन्छ । त्यसैले हामी गयौं । पार्टीको नीतिअनुसार बजेट ल्याउन सक्छौं कि भनेर सरकारमा गयौं । रोजगारी सिर्जना गर्न सक्छौं भन्ने थियो । बजेट आउनु पहिलेसम्म हामी सरकारमा जाने सम्भावना प्रबल थियो । इच्छा पनि थियो । अहिले आफ्नो सोचअनुसार बजेट बनेको देखेनौं । जुन बजेट आएको छ, त्यो त्रुटिपूर्ण र विभेदकारी छ । चारजना नेताले पाएका छन् बाँकी क्षेत्र त्यसै छ । बजेट सच्याउनुपर्छ या त यसमा कसरी सकारात्मक भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बाटो हामी हेर्दै छौं । सत्तापक्षका सांसदहरूले नै असन्तुष्टि व्यक्त गरिरहेको हुनाले बजेट पूरै सच्चिन्छ भन्ने आस छ । अर्थमन्त्रीले संशोधन हुन सक्छ भनेर अभिव्यक्ति दिनुभएको छ । त्यो कति सम्भव हुन्छ, हामी ‘पर्ख र हेर’को स्थितिमा छौं ।
बजेट पास हुने बेला आउन लाग्यो । सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिनेमा बढी सम्भावना के छ ?
सरकारलाई समर्थन फिर्ता लिने सम्भावना बढी छ ।
तर राजनीतिक वृत्तमा तपाईंहरूलाई पनि रोज्जाको मन्त्रालय नै चाहिएको हो, त्यो नमिलेर सरकारमा सहभागी नहुनुभएको भन्ने आरोप छ नि ?
बाराको उपनिर्वाचनअघिसम्म सरकारमा जानेबारे संवादमा थियौं । त्यसपछि हामीले आफ्नोतर्फबाट पहल लिएका छैनौं । यो सरकारी पक्षबाटै कुरा उठाइन्छ, मिडियामा जान्छ अनि प्रश्न हामीलाई आउँछ । हाम्रो संवादमा नै नभएको कुरा माग भएको भनेर आउँछ । एक डेढ हप्ताअघि पनि यस्तै कुरा भएको थियो । सरकारी पक्षबाटै कुरा उठाइयो । हामीसँग कुरा भएको छैन ।
तपाईंले एकातिर भ्रष्टाचार र बेथितिको मुद्दा उठाउनुभएको छ अर्कातिर बजेटको विरोध गरिरहनुभएको छ । तर लामो समयदेखि बेथिति रहेको भनिएको निर्वाचन क्षेत्र विकास कार्यक्रममाथि तपाईंको धेरै टिप्पणी देखिँदैन । यसमा तपाईंको धारणा के छ ?
यसमा धेरै सांसदले भित्रभित्रै समर्थन गरेका छन्, उनीहरू सार्वजनिक रूपमा प्रतिरक्षा गर्न चाहँदैनन् । म खुलेर भन्छु, यो नकारात्मक होइन । जनताले आशा कोसँग गर्छन् ? म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा के नीति बनाएर आउनुभयो भनेर सोध्दैनन् । कुन पुल लिएर आउनुभयो, कहाँको सडक, कुन स्कुल बनाउनुहुन्छ भनेर सोध्छन् । त्यही भएर जनताको मागलाई सम्बोधन गर्ने कुनै न कुनै संयन्त्र हामीसँग हुनुपर्छ । त्यो सांसद विकास कोष हो ।
पहिला कसरी दुरुपयोग भयो भन्ने थाहा भएन । दुरुपयोग हुने कम सम्भावना हुन्छ । यो ५ करोड सांसदको खल्तीमा हालिदिएको हो भन्ने लागेको छ तर पैसा दिने होइन । त्यो पनि न्यूनतम एक करोडको योजना बनाएर बढीमा पाँच करोडको योजना दिने हो । आफ्नो निर्वाचन क्षेत्रको मागअनुसार बढीमा पाँच योजना सांसदले राखिदिने हो । त्यो योजना सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्ने हो । सांसदले पैसा बाँड्ने होइन । प्रदेशमा यो कार्यक्रम वितरणमुखी छ, तर संघको त्यस्तो हुँदैन ।
तपाईंले उठाएको सुशासनको मुद्दाको प्रत्याभूति संविधान र व्यवस्थाले गर्ने हो । व्यवस्थाले सांसदहरूलाई कानुन निर्माताका रूपमा स्थापित गरेको छ । विकास निर्माणकर्ताका रूपमा त वडाध्यक्ष, पालिका प्रमुख र संघीय सरकारलाई लिइएको छ । सांसद र त्यसमा पनि नयाँ जनप्रतिनिधिले आफूलाई त्यसमा किन खुम्च्याउँदै हुनुहुन्छ ? नीति निर्माताबाट विकासको एजेन्ट किन बन्न खोज्नुभएको हो ?
जनताले त्यही अपेक्षा गरेका छन् । उनीहरूले जिम्मेवारी दिएकाले त्यो भूमिका हामीले निर्वाह गरेका हौं । चुनावमा वाचा गरेकाले पनि हो । विकास प्रणालीबाट आउने हो जनप्रतिनिधि वा कानुन निर्माताबाट आउने होइन भन्ने संस्कृति हाम्रो समाजमा बसिसकेको अवस्था छैन । त्यो संस्कृति बसेको भए त सहज हुन्थ्यो नि । सडकमा खाल्डो छ भन्ने कुरा कसैले सोध्दैनथ्यो । बजेट विनियोजन सबैभन्दा ठूलो नीति हो । अरू नीतिले सामान्यतः स्टेटमेन्ट हुन्थ्यो, बजेट विधेयकमा आर्थिक विषय जोडिएको छ । यो कार्यान्वयनको चरणसम्म जाने भएकाले इग्नोर गर्न मिल्दैन । सांसद विकास कोषलाई पनि नीति मान्नुस् न । सांसदले चयन गरेका परियोजनाहरू पार्ने नीति हो । त्यो नीतिअन्तर्गत कार्य गर्दै छौं ।
माओवादी, जसपा, एकीकृत समाजवादी र नेकपाको समाजवादी मोर्चा गठन भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
उनीहरू एकदम डराएका हुन् । तीनवटै पार्टी अर्को निर्वाचनसम्म लोप भइन्छ भनेर डराएका हुन् । स्वाभाविक पनि हो, डर मान्नुपर्छ । तर यस्ता मोर्चा कति बन्छन् कति जान्छन् । त्यसको कुनै लेखाजोखा हुन्न । गठबन्धन बनेको हुन्छ तर जनताले भोट हाल्दैनन्, देखिहाल्नुभएको छ । त्यसको कुनै ठूलो औचित्य छैन । सैद्धान्तिक धरातल त छँदै छैन । त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ, त्यसलाई मुख्य समाचार पनि बनाउनुपर्छ भन्ने लागेको थिएन । तर बनिहाल्यो ।

 

Page 6
सम्पादकीय

३ लाख चौपाया संक्रमित हुँदा नियन्त्रणको पहल खोइ ?


कृषिप्रधान देश नेपालमा पेसागत रूपमा सबैभन्दा बढी उपेक्षित पनि किसानहरू नै छन् । खेतीपातीमा मलखाद, बीउदेखि बजारसम्म समस्या भएजस्तै पशुपालनमा पनि त्यत्तिकै व्यथा छन् । पछिल्लो समय ‘लम्पी स्किन’ अर्थात् गिर्खे रोगको संक्रमण देशैभर फैलिँदा कैयौं किसानले
आफ्नो पशुधन गुमाइरहेका छन् । अहिलेसम्म झन्डै १० हजार चौपाया मरिसकेका छन् । कम्तीमा साढे ३ लाख संक्रमित छन्, कर्णालीमा
मात्रै यो संख्या डेढ लाखजति छ । रोग नियन्त्रणका लागि पूर्वतयारी
नहुँदा अवस्था भयावह हुने जोखिम छ । गर्मीका कारण रोग थप फैलिने चिन्ता अधिक छ ।
विशेष गरी गाई–गोरु र भैंसीमा प्रकोप फैलिँदा कैयौं स्थानमा गोठै रित्ता बनेका छन् । राम्रो दूध दिने लैनो गाई–भैंसी एउटैको लाख रुपैयाँभन्दा बढी पर्ने भएकाले किसानले ठूलो आर्थिक क्षति बेहोरिरहेका छन् । व्यावसायिक रूपमा पशु पाल्नेले नियमित आम्दानीको स्रोत नै गुमाएका छन् । निर्वाहमुखी किसानको पनि वर्षौंको मिहिनेत र पसिना खेर गएको छ । भान्सा निस्तो भएको छ । असार मास जोत्ने गोरु मर्दा/बिरामी हुँदा खेती चलाउनै सकस परेको छ । कति किसानलाई त आफूसित भएको एक मात्र पुँजी गोठका गाईबस्तु नै मासिएपछि सर्वस्व गुमेझैं भएको छ ।
रोग देखिएका चौपायामा घाँटी, पुच्छरवरिपरि, पेट र थुनसहित शरीरमा गिर्खा देखिन्छन् । घाउ बन्ने र फुटेर पानी निस्कने, १ सय ५ डिग्रीसम्म ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट धेरै फिँज निस्कनेजस्ता यसका थप लक्षण हुन् । यो रोग लागेपछि ८० प्रतिशतसम्म दूध घट्ने किसानको अनुभव छ । यही कारण राष्ट्रिय रूपमै दूध उत्पादन घट्ने आकलन छ, जसको प्रभाव उपभोक्तासम्मै पर्नेछ ।
लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट रोग सर्ने भएकाले किसानले पर्याप्त सतर्कता अपनाउनुपर्छ । संक्रमित पशुलाई सार्वजनिक स्थलमा चराउन लैजानु हुँदैन । अरू पशुसँग सम्पर्कमा आउन र जुठो खान दिनु हुँदैन । गोठको सरसफाइमा ध्यान दिनुपर्छ । ज्वरो आएको पशुलाई जोत्ने, गाडा तान्ने काममा लगाउनु हुँदैन । त्यस्ता पशुलाई आराम गराउनुपर्छ र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ । ज्वरो घटाउन पारासिटामोल (वा मेलोक्सिकेम) खुवाउनुपर्छ । घाउ चिलाउन कम गर्न पशु स्वास्थ्य प्राविधिकको सल्लाहअनुसार उचित औषधि प्रयोग गरिदिनुपर्छ । फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मल्हम लगाइदिनुपर्छ ।
यो रोग दक्षिण एसियामा तीन वर्षअघि भारत र बंगलादेशमा देखिएको थियो । लगत्तै नेपालमा पनि आठ जिल्लाका ११ पालिकामा फैलिएको थियो । झन्डै १५ सय गाई–भैंसी संक्रमित हुँदा १३ वटा मरेका थिए । पछिल्लो समय पनि फागुन अन्तिमतिरैदेखि संक्रमण देखिएको थियो तैपनि सरकारले बेलैमा नियन्त्रण प्रयास नगर्दा अहिले देशभर फैलन पाएको हो । सुरुदेखि नै सरकारले उचित तयारी गरेको भए यो दुरवस्था आउँदैनथ्यो । कतिसम्म भने, रोग फैलन थालिसकेपछि आएको नीति तथा कार्यक्रम र बजेटमा पनि सरकारले यसबारे केही बोलेको छैन, जुन किसानप्रति चरम बेवास्ताको द्योतक हो ।
सरुवा रोग भएकाले यसको नियन्त्रणको प्रभावकारी उपाय खोप हो । त्यसैले सरकारले खोपसहित व्यवस्थित र प्रभावकारी अभियान चलाउनुपर्छ । यसका निम्ति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तह, प्रदेश र अरू सरोकारवालासित उचित समन्वय गर्नुपर्छ । चौपायालाई सुरक्षित राख्न जैविक सुरक्षाको विधि पनि अपनाउनुपर्छ, त्यसका लागि विदेशबाट आयात गर्दा केही दिन क्वारेन्टिनमा राखेर अध्ययन गर्नुपर्छ । देशभित्रै पनि एकबाट अर्को ठाउँ लैजाँदा यो पक्षमा ध्यान पुर्‍याउनुपर्छ ।
प्रकोप नियन्त्रणका अतिरिक्त मर्कामा परेका किसानलाई क्षतिपूर्ति दिन सरकारले गृहकार्य गर्नुपर्छ । यकिन विवरण संकलन गरी समानुपातिक रूपमा राहत तथा क्षतिपूर्ति दिनुपर्छ । पशु बिमा गरिसकेका किसानको भुक्तानी प्रक्रियामा अलमल हुन नदिन सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । भविष्यमा यस्तो जोखिमबाट किसानहरूलाई जोगाउन पशु बिमालाई पनि अभियानकै रूपमा अगाडि बढाउनुपर्छ ।
खोपलगायत सहायताका लागि सरकारले दाताको मुख ताकेको छ । दातृ निकायले बेलैमा सघाए त बेसै होला तर सरकारले अरूको मात्र भर पर्नु हुँदैन । आफ्नै बुतामा पशुधन जोगाउन अग्रसक्रियता देखाउनुपर्छ ।

सम्पादकलाई चिठी

जनतालाई भोकै मार्ने रणनीति


बजेटले जनतामा कहिल्यै कुनै आशा र उमंग ल्याउन सकेको छैन । बिचौलिया र व्यापारीहरूको स्वार्थपूर्तिमा केन्द्रित रहने गरेको छ बजेट । त्यही भएर बजेट भाषणपछि जहिल्यै महँगीले जनताको ढाड झन् सेक्न थाल्छ । यस पालिको बजेटले त झन् लाज पनि लजाएर भाग्ने अवस्थामा पुर्‍याएको छ । रक्सी, चुरोट जस्ता अनावश्यक र हानिकारक वस्तुमा होइन कि आलु र प्याजमा कर थपेर सरकारले जनताको भान्सामै धावा बोलेको छ । यस्तो जनतामारा, गरिबमारा सरकारबाट आम नेपालीको समृद्धिको अपेक्षा गर्नु भनेको मरुभूमिमा पानी खोज्नु जस्तै हो ।
कृषि उत्पादन बढाउने, किसानको हित हुने योजना कहिल्यै ल्याउनु छैनÙ भएका कलकारखाना बन्द गरेर आयातलाई बढावा दिनु छ अनि करमाथि कर थोपरेर त्यसै त गरिब जनतालाई झन् गरिबीतिर धकेल्नमा रमाएको छ सरकार । सत्तासीनहरूलाई निमुखा जनताका दुःखको न कहिल्यै मतलब थियो, न त भविष्यमा हुने छाँटकाँट नै छ । अनेक किसिमका करका माध्यमले जनतालाई चुसेर रमाउन पल्केका सत्तासीनहरूले आलुप्याजमा धरि सहुलियत नदिनु भनेको यो मुलुकमा जनताको सरकार छैन भन्ने प्रमाणित हुनु हो ।
कर बढ्नु भनेकै महँगी बढ्नु हो । महँगी बढ्नु भनेको कोभिड महामारीयता अनेक समस्यामा पर्दै आएका जनतालाई विद्रोही बन्न प्रेरित गर्नु हो । समयमा मल नपाएर र सिँचाइको अभावले किसानले राम्रो उत्पादन गर्न सकिरहेका छैनन् । अलिअलि भएका उत्पादन पनि बिचौलियाको दबदबाले बजार नपाएर मिल्काउनुपरेको छ । भरखरै काठमाडौंको कालीमाटीमा किसानहरूले सडकमा गोलभेंडा फ्याँके । यसरी किसानहरू आन्दोलित भइरहेका बेला सरकार भने कानमा तेल हालेर उल्टो बाटो हिँड्न उत्सुक भएको छ ।
नुनतेल, दालचामल, आलुप्याज, सागसब्जी जस्ता जीवन धान्न अनिवार्य वस्तुमा विलासिताका सरसामानमा जस्तो कर बढाएर सरकार जनतालाई भोकभोकै मार्ने रणनीतिमा त लागेको छैन ? पहिले देशभित्रैबाट आपूर्तिको सञ्जाल दुरुस्त पार्ने कि, कृषि उत्पादन बढाउने उपाय लगाउने कि सत्तासीनहरूको मोजमस्तीका लागि राजस्व जोहो गर्न भान्सामा कर थोपर्ने ? जनताबाट चुसेको कुनै करको सदुपयोग भएको छ ? सांसद विकास कोषका नाममा अर्बौं रुपैयाँ उडाउन खोज्नुभन्दा जनतालाई कर छुट दिनु समयोचित हुन्नथ्यो ? तर, हाम्रो सरकारबाट यस्तो अपेक्षा गर्नु नै मूर्खता हो । जनताको सरकार भए पो !
– रोशन भट्टराई, इनरुवा–३, सुनसरी

सम्पादकलाई चिठी

बालेनका पक्षमा


सहमत हुन या नहुन सबै स्वतन्त्र हुनुहुन्छ, स्थानीय निर्वाचनको परिणाममा चक्मा दिँदै उदाएका बालेन नेपाली राजनीतिको एउटा आशाको उज्यालो दियो हुन् । दशकौंदेखि थुपारिएको राजनीतिक विसंगति र विकृति उनको उदयले एकै पटक निर्मूल हुन्छ भन्ने हुँदै होइन तर प्रमुख राजनीतिक पार्टीको शासकीय प्रवृत्तिबाट वाक्क र निराश भएका जनता स्वतन्त्र उमेदवारप्रति आकर्षित हुनु कुनै नौलो होइन । बालेनको हरेक निर्णय चर्चा हुने गरेका छन् र विवादरहित पनि छैनन् । केशव दाहालको गत मंगलबार प्रकाशित ‘एक देशभक्तको बयान’ मा भनेझैं जनतालाई पृथक् राखेर गरिने देशप्रेम फगत जालसाजी हो । यो वाक्यांशले विगत र अहिलेका शासकको क्रियाकलापलाई निर्देशित गर्छ न कि बालेनको कदमलाई । चर्चामा रहेको ‘ग्रेटर नेपाल’ को नक्सा बालेनको आफ्नो कार्यकक्षमा राख्ने काम कुनै लहडीपनमा आएको होइन, यो देशप्रेम नै हो । ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्दा गुमेको भूमि सबै नेपालको भैहाल्ने पनि होइन, यो त एउटा वीरताको इतिहासको स्मरण मात्र हो । बालेनले अहिलेसम्म गरेका सुकुम्बासी समस्या, फुटपाथ व्यापार, हस्पिटलमा निःशुल्क उपचार कोटा, निजी विद्यालयमा छात्रवृत्ति कोटा, यातायात व्यवस्थापन सबै जटिल काम हुन् ।
विगतका शासकहरूकै कारण कान्तिपुरले ढल, प्रदूषण, सरकारी जग्गा कब्जा, जाम, अनियन्त्रित बसोबास, व्यवस्थापनबिनाको सहरीकरण र कंक्रिटको जंगलको उपमा पाएको सत्य हो । वर्तमानका बालेनले गरेका कामले नेपाली जनताले दुःख त भोग्नुपरेको छ तर खासमा यो समस्या विगतको शासन व्यवस्थाको लहडीपन, योजनाविहीनता र अकर्मण्यताको कारण उत्पन्न भएको हो ।
चर्चामा आएका नयाँ नेता रवि र हर्कसँग पनि बालेनको तुलना हुन सक्दैन । बालेन शान्त छन् । अहिले उनी एक्लो छन् । तर एक्लो हुँदाहुँदै पनि उनका कदम र निर्णय सान्दर्भिक छन् । यथार्थमा दाहालले भनेझैं आफू सामर्थ्यवान बन्नु एउटा अपरिहार्य कुरा हो तर देश र जनतालाई सुशासनको अनुभूति दिलाउन सक्नु अर्को कुरा हो । नागरिक जन्मेपछि आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी आदि पाउन नेता वा तिनका नातेदार र आसेपासे हुनुपर्ने कस्तो शासन व्यवस्थाको परिकल्पनामा हामी रमाउँदै छौं भन्ने मूल प्रश्नलाई पन्छाउन मिल्दैन ।
– सुन्दर तिवारी, मध्यविन्दु नपा –१, पूर्व नवलपरासी

सम्पादकलाई चिठी

सरकार कहिलेसम्म रमिते ?


आज आम जनताले सोधिरहेका छन्— सरकार छ कहाँ ? खासमा जनताले सरकारलाई खोजिरहेका छन् । तीन तहको सरकार हुँदा पनि जनताका न्यूनतम समस्या हल किन भैरहेको छैन भनेर जान्न चाहेका छन् । अर्बौं खर्च गरेर निर्वाचित गरेर पठाएका जनप्रतिनिधि जनताका लागि हुँदैनन् भने तिनलाई जनप्रतिनिधि किन भन्ने, अहिले सबैले सोधिरहेका छन् । नेताहरूको काम भनेको तलबभत्ता खाने, सरकार कसरी टिकाउने वा गिराउनेभन्दा अरू देखिएको छैन । जनताको हितमा काम गर्ने असल नेताको भने अभाव छ । प्रजातन्त्र–लोकतन्त्र जे आए पनि एउटा दलले पाँच वर्ष सरकार चलाएको रेकर्ड छैन । सत्तामा मात्र ध्यान दिँदा नेतालाई सर्वसाधारणको पीरमर्काबारे मतलब छैन । ताप्लेजुङका जनता बाढीपहिरोका समस्यामा छन् । कर्णालीका जनता पानी खान नपाएर भौंतारिएका छन् । देशैभरका जनता महँगीले आक्रान्त छन् । सरकारका दलहरू मोर्चा बनाउन व्यस्त छन् । किनभने, जसरी भए पनि तिनलाई निर्वाचन जित्नु छ, सरकारमा पुग्नु छ । संविधानमा उल्लिखित गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकारप्रति उनीहरूको वास्ता छैन । वास्तवमा देशै बिचौलियाले चलाएका छन् । अर्थमन्त्रीले प्याज र आलुमा कर लगाउने उद्घोष गरेपछि दुई गुना भाउ बढाए । यता, किसानले बारीमा उत्पादन गरेको गोलभेंडा फाल्न विवश छन् । यस्तो अवस्थामा नागरिकको प्रश्न स्वाभाविक छ— सरकार कहिलेसम्म रमिते बन्ने हो ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

दृष्टिकोण

भ्रमण सार्थकताका सर्तहरू

- इन्द्र अधिकारी

 

प्रधानमन्त्री पुष्पकमल दाहालको दुई हप्ताअघिको भारत भ्रमण सफल या असफल भन्नेमा बहस अझै सकिएको छैन । संसद् र सडकमा यसबारे सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी भइरहेका छन्, जुन लोकतान्त्रिक समाज र मुलुकमा स्वाभाविक हो । तर कसले स्वागत गरे भन्ने जस्ता सडकमा उठ्ने सतही प्रश्नको समेत प्रधानमन्त्रीकै तहबाट उत्तर दिने प्रचलन भने अलिक प्रतिरक्षात्मक देखियो । त्यस्तै, नेपालका हजारौं भैंसीपालक र दुग्ध व्यवसायी किसानको आय र व्यवसायसँग जोडिएको र त्यो समुदायका सन्दर्भमा दुई देशका कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको तयारीका आधारमा आउने भनिएका केही उन्नत राँगासम्बन्धी टीकाटिप्पणीहरू असान्दर्भिक मात्र देखिएनन् कि हामी नेपालीको कृषि र किसानमाथि कायम पुरानो हेय दृष्टिसमेत सतहमा अरू छरपस्ट भयो । पहिलो सन्दर्भमा, विदेशी पाहुनालाई राजकीय भ्रमणमा स्वागत गर्ने विश्वव्यापी परिपाटी र सम्बन्धित देशको नीति र परम्परा चाल नपाएझैं किसिमले गरिएका प्रतिक्रियामा प्रधानमन्त्रीको आफ्नै सहभागितामा सफाइ आवश्यक छैनÙ परराष्ट्र मामिला
बुझ्ने जोकसैले थाहा पाएर पनि गरिटोपल्ने बहसलाई बेवास्ता गर्नु नै राम्रो हो । राँगाका नाममा कृषि र पशुपालन अनि समग्र दुग्ध व्यवसायकै अपमान हुने गरी आएका र आउने प्रतिक्रियामा चाहिँ यो सरकारले आफूलाई किसान र किसानको प्रतिनिधि ठान्छ भने डटेर प्रतिकार गर्दै भन्नुपर्थ्यो, ‘एउटा झोलुङ्गे पुल, केही जिप या बस या एम्बुलेन्स नै मागेर हैरान बनाउने हाम्रो चलनलाई चिर्दै समग्र किसानका पक्षमा हुने यस्ता सहयोग पनि उच्चस्तरीय भ्रमणका एजेन्डा बन्नुले अब देश कृषि र त्यसमा आधारित रोजगारीका सन्दर्भमा काम गर्न लागेको सन्देश दिन चाहन्छ ।’ तर यो आलेख सफल भनिएका विगतका भ्रमणहरू किन परिणाममुखी बन्न सकेनन् र यस पालिको भ्रमणपश्चात् के गर्दा यसलाई परिणाममुखी मान्न सकिएला भन्नेमा केन्द्रित रहनेछ ।
सर्वप्रथम हामीले आफ्नै विगतलाई हेर्नुपर्ने हुन्छ । हरेक प्रधानमन्त्रीले भारतबाट फर्कंदा भ्रमण सफल भएको, नेपाल–भारत सम्बन्धमा अब कुनै समस्या बाँकी नरहेको, सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको भन्न नछुटाउने तर त्यसपछिको भ्रमणको तयारी गर्दैगर्दा पुराना र प्रधानमन्त्री तहमा या उनलाई साक्षी राखेर भएका सहमति र सम्झौता कागजमा मात्रै सीमित रहने गरेका हुनाले परिणाम केही नआएका कारण त्यसपछिको यस्तै उच्चस्तरीय भ्रमण या बैठकमा पनि तिनै विषय फेरि सहमति र सम्झौतामा पर्ने गरेको यथार्थ हो । बहुआयामिक रहेको नेपाल–भारत सम्बन्धका केही सन्दर्भ उच्च तहका यस्ता भ्रमण र बैठकमा प्रयोग हुने शब्द, त्यहाँ नेताहरूले प्रदर्शन गर्ने ‘जेस्चर’ र ‘बडी ल्याङ्ग्वेज’ आदि पनि सम्बन्धको भाष्यलाई सकारात्मकता या नकारात्मकतातर्फ लैजानमा उत्तिकै महत्त्वपूर्ण हुन्छन् । त्यसभन्दा महत्त्वपूर्ण कुरा, नेपाल र भारत दुवै पक्षले हालसम्म गर्न नसकेको चाहिँ सफल भएर सम्पन्न बैठक या भ्रमणले कोरेका मार्गचित्रमा गर्नुपर्नेर् यथेष्ट गृहकार्य हो । यसो र त्यसो गरिनेछ भनी उठाउनुपर्ने विषयलाई भविष्यको रोडम्यापसहित प्रस्तुत गर्नुपर्ने अनि गहन छलफल र तयारी हुनुपर्ने कतिपय पक्षलाई दुई नेताले बोलेपश्चात् स्वतः कार्यान्वयनमा आइहाल्छ भनेझैं गरी उठाइदिने र त्यसपछि गर्नुपर्ने यावत् तयारीका लागि दुवै देशका प्रशासनिक निकायहरूले आवश्यक काम नगर्ने, अनि नागरिक तहले समेत खबरदारी नगर्ने गरेका कारण प्रधानमन्त्री तहको एक भ्रमण र अर्को भ्रमणका एजेन्डामा खास फरक नदेखिने गरेको हो । भ्रमण वरिपरिका बैठक र छलफलमा गरिएका सहमति र उठाइएका विषयलाई परिणाममुखी बनाउन राजनीतिक र प्रशासनिक पक्ष गम्भीर चासो र सक्रियताका साथ लाग्नुपर्ने हुन्छ । यस्तो नहुँदा भ्रमणमा उठेका एवं छलफल र सहमति भएका भनिएका विषयले पनि पार नपाउने परिस्थितिमा नेपाल–भारत सम्बन्ध अल्झिएको छ । र, सहमति राम्रो भए पनि, भ्रमण र छलफल सकारात्मक भए पनि, नेतृत्वले भ्रमण र छलफल अभूतपूर्व भने पनि जनताले नपत्याउने, खासै चासो नदिने, कतिपय अवस्थामा खिल्ली उडाउने गरेको अवस्था छ । परिणामस्वरूप, पाहुना बनेर विदेश गएका आफ्ना नेतालाई विमानस्थलमा कसले स्वागत गर्छ र समकक्षी या निम्ता दिनेले कहाँ–कसरी भेट–सम्मान दिने हो, कहाँ–कसरी घुमाउन लग्ने हो भन्ने जस्ता सतही बहसमा जनता केन्द्रित हुन्छन् । हरेक एक–दुई वर्षको अन्तरालका यस्ता भ्रमणहरूको खास सन्दर्भ बिर्सेर परिणामकेन्द्रित बनाउनेÙ विषयगत, वस्तुनिष्ठ र सिर्जनशील मन्थन गर्नेभन्दा पनि प्रक्रियाकेन्द्रित क्रिया–प्रतिक्रियामा उत्रने अनि यिनै पक्षलाई भ्रमण मूल्यांकनको मुख्य मानक मान्ने परम्परा बस्दै गएको छ ।
हरेक भ्रमणमा दोहोरिने ‘ऐतिहासिक, बहुआयामिक, विशेष सम्बन्ध’ लाई परिभाषित गरे मात्र नेपाल–भारत सम्बन्धमा ताजापन आउने थियो, सम्बन्ध बढी मजबुत भएर र बदलाव आएर नयाँ शिरामा पुग्न सक्थ्यो, एकअर्काका देशमा हुने आन्तरिक परिवर्तन र विकासक्रम वा मुद्दाविशेषले द्विदेशीय सम्बन्धमा उतारचढाव ल्याउने सम्भावनै रहँदैनथ्यो । सम्बन्धलाई थप जीवन्त, आत्मीय, दिगो बनाउन हरेक मुद्दा र एजेन्डामा इमानदार भएर काम गर्नुपर्ने हुन्छ । त्यसैले यस पटकको भ्रमणलाई विगतका तुलनामा फरक र साँच्चिकै सफल बनाउने हो भने द्विपक्षीय सहमतिका बुँदाले मार्गनिर्देश गरेका विषयहरूमा त्यसै दिनदेखि गृहकार्य सुरु गरिहाल्न आवश्यक हुन्छ । अर्को शब्दमा, विगतका अरू भ्रमणले झैं केही महत्त्वपूर्ण सन्देश बोकेको भनिएको यो भ्रमणलाई सन्देशमा मात्र सीमित नगर्ने हो भने आजैदेखि काम गर्नुपर्छ । दुवै देशका कर्मचारीतन्त्रमा सञ्चारित ऊर्जालाई परिणाममा रूपान्तरण गर्न ढिलो नगरेमा मात्र भविष्यमा पनि यो भ्रमणलाई चाहिँ परिणामदायीका रूपमा उद्धरण गर्न सकिन्छ ।
उदाहरणका लागि पञ्चेश्वरको डीपीआर तीन महिनामा बनाउने सहमतिलाई लिऔं । यसअघि प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाले २०७४ भदौमा गरेको भारत भ्रमणका क्रममा एक महिनाको समयमा यो काम सम्पन्न गर्ने भनिएको थियो । तर उक्त काम जस्ताको तस्तै रहेका कारण त्यसपछिका प्रधानमन्त्री तहका भ्रमणहरूले पनि यो एजेन्डा जस्ताको तस्तै रहिरहेको यथार्थबीच फेरि समय किटेर यो बुँदा राखिँदै आएको छ । मतलब, २७ वर्षदेखि प्रायः ‘सफल’ भ्रमणका एजेन्डामा पञ्चेश्वरको डीपीआर एउटा सन्देशका रूपमा परिरहेकै छ । अतीतलाई छिट्टै बिर्सने, खास नपछ्याउने वा नकोट्याउने र तत्काल भएका ससाना कुराबाट पनि फुरुङ्ग हुने या ठुस्स पर्ने हामी नेपालीको बानीको फाइदा उठाएर एउटै विषयलाई ‘सकारात्मक’ सन्देशका रूपमा विगतमा धेरै पटक प्रयोग गरियो । अब पनि परिस्थिति फरक होला भन्न सकिन्न, किनकि दुई प्रधानमन्त्रीलाई साक्षी राखेर डीपीआर तीन महिनामा सक्ने भनिएकै २२–२३ दिन भइसकेको छ र त्यसतर्फ अझै कुनै पहल सुरु भएको देखिन्न । तयारी गरे तीन महिनामा असम्भव नै चाहिँ नदेखिने यो सन्दर्भले नेपाल र भारत दुवै पक्षको सघन सक्रियताको माग गरेको छ । डीपीआरमा पञ्चेश्वर आयोजनाको न्यूनतम उत्पादन क्षमता अर्थात् फर्म एनर्जीको सन्दर्भ पनि लामो समयदेखि छलफलमै देखिन्छ भने तल्लो शारदा नहरमार्फत भारतले उपयोग गर्दै आएको पानी अर्को पेचिलो विषय हो । उत्तराखण्ड राज्यको उदयभन्दा अघि भएको यो सम्झौता अनुसारका कतिपय विषय त समय घर्किंदै जाँदा भारतका उत्तरप्रदेश र उत्तराखण्ड राज्यबीच विवादको बीउ बन्ने अवस्थालाई समेत ध्यानमा राखेर नेपालले यसबारे आन्तरिक गृहकार्य गर्नुपर्ने त छँदै छ, ती राज्यहरूसँगको सम्बन्ध र संवादमा पनि ‘इङ्गेज’ भएर समय खर्चिन पनि आवश्यक देखिन्छ ताकि उनीहरूको आन्तरिक विवादका कारण दुई देशले विकसित गर्न लागेको डीपीआरमा असर नपरोस् । त्यसो त बारम्बारको ताकेता पनि काम लाग्छ भन्ने पुष्टि २७ वर्षअघिको सहमति अनुसार नेपालले पाउने पानी गत वर्ष जुलाईदेखि नेपाल आउन थालेकोबाट हुन्छ । महाकाली सन्धिको धारा २(२) अनुसार, नेपालले वर्षायाममा २८.३५ घनमिटर र सुक्खायाममा ८.५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ । त्यसका लागि टनकपुरदेखि नेपाल सीमासम्मको १,२०० मिटर लामो नहर बनाइदिएर भारतले सहमति अनुसारको काम गत वर्ष मात्र पूरा गरेको छ । तर तत्पश्चात्को ४७ किलोमिटर मूल नहर बनाई गोदावरीमा पानी खसाल्ने गरी गर्नुपर्ने नेपाली तयारी पूरा नहुँदा टनकपुरबाट आफैंमा अति ढिलो गरी पाएको उक्त पानी पनि नेपालका किसानले प्रयोग गर्न पाएका छैनन् । यसले दिने सन्देश हो, आफ्नो हितअनुकूलको तयारी पूरा गरेर विषय उठाउँदा जति परिणाम प्राप्त हुन्छ, आफैंमा तयारी भएन भने त्यो विषय अरूले पनि हल्का रूपमा लिन्छन् । टनकपुरको के कुरा, ७० वर्षअघिको गण्डक सम्झौता अनुसार नेपालले पाउने पानीका लागि ४० हजार क्युसेक क्षमताको नहर बनाउनुपर्ने थियो, तर २५ हजार क्युसेक क्षमताको मात्र बनायो । आफ्नो हकको उपलब्धि हात पार्न पूर्वाधार निर्माण गर्न नसकेपछि प्रयोगमा हकदाबीको रटान आन्तरिक उपयोगका लागि मात्र लगाइएको हो भनी बुझ्न गाह्रो छैन ।
यस पटकको भ्रमणको उपलब्धि नेपालले कल्पना गरेभन्दा एक कदम अघि बढेर भारतीय प्रधानमन्त्री मोदीद्वारा व्यक्त यो भनाइ हो, ‘नेपालसँगको सम्बन्धलाई हिमालजत्तिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहनेछौं र यही भावना अनुसार सबै मुद्दा, चाहे सीमाका होऊन् या अन्य कुनै पनि विषय समाधान गर्नेछौं ।’ यो सन्देश आफैंमा महत्त्वपूर्ण यसकारण छ कि, यसमा अडेर आपसी सम्झौता–सहमतिलाई परिणाममा बदल्ने सानोभन्दा सानो पहलबाट पनि दुवै देश लाभान्वित हुनेछन् । तर त्यसको भोलिपल्टैदेखि यसका लागि गर्नुपर्ने गृहकार्यमा हामी कता छौं त ? यसका लागि काम गर्ने दुई देशका सर्भेयर समूह, परराष्ट्र सचिवस्तरको संरचना र परराष्ट्रमन्त्रीस्तरको सन् १९८७ देखि
कार्यरत संयुक्त आयोगका बैठकहरू भइसक्नुपर्ने थियो । तर
आजसम्म यीमध्ये कुनै एक संरचनाले पनि यस विषयमा छलफल सुरु नगर्नु निराशाजनक छ । केही गरौं र दुई देशबीचको सम्बन्धलाई अरू कमजोर हुन नदिऔं भन्ने हो भने यसमा ढिलाइ गर्ने छुट दुवै देशलाई छैन । सीमा समस्या समाधानकै वरिपरि रहेर भ्रमण सम्पन्न भएपश्चात् नेपाल फर्किएर प्रधानमन्त्री दाहालले भूमि ‘स्वाप’ को प्रसंग उठाएका छन् । भूमि ‘स्वाप’ उठानको समय, अवस्था र भारत–बंगलादेश प्रसंग कति सान्दर्भिक छ, बहसको विषय होला, तर यो अनुभव नेपालका लागि नौलो होइन । नेपालकै उत्तरी छिमेकी चीनसँग तिब्बतसम्बन्धी विवाद सल्टाउन पछिल्लो पटक सन् १९६० को दशकमा हामीले नै लेनदेनमा आधारित प्रयोग गरेका थियौं । साथै भारतमा अंग्रेज शासन रहेकै बेला नेपालले सन् १९२० मा महाकाली नदीमा बाँध बनाउने प्रयोजनका लागि आवश्यक ४ हजार एकड नेपाली भूमि प्रयोग गर्न दिएको, त्यसबापत नेपालले वर्षायाममा ४६० देखि अधिकतम १,००० क्युसेकसम्म र हिउँदमा १५० क्युसेक सिँचाइका लागि पानी पाउने सहमति भएको थियो । त्यस बेलाको सहमतिअनुसार भारतको लखनउ फैजाबाद डिभिजनअन्तर्गत खिरी, बहराइच र गोन्डा जिल्लाबाट नेपालले जग्गा सट्टाभर्ना पाएको विभिन्न दस्तावेज र जानकार बताउँछन् । सो कुरा, सन् १९२४ मा नेपाल र भारतबीच नयाँ सीमास्तम्भ कायम भएको र सन् १९३५ मा नेपाल र भारतबाट प्रमाणित नक्साबाट स्पष्ट हुने महाकाली अभियानमा लामो समयदेखि क्रियाशील ऋषिराज लम्सालीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । नेपाल र भारतबीच भएको उक्त सम्झौता अनुसार नै भारतले महाकाली नदीमा शारदा बाँध बनाएको थियो ।
उपर्युक्त विषयहरूमाथि अरू छलफलका लागि केकस्तो वातावरण बनाइँदै छ ? यी मामिलामा विज्ञहरू र स्वदेशमा उपलब्ध परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, विश्वविद्यालयहरू लगायतका सामाजिक अनुसन्धान केन्द्रहरूलाई सक्रिय बनाउन प्रधानमन्त्रीको भ्रमणपश्चात् के–के नीति र कार्यक्रम आए त भनेर हेर्दा कतै केही देखिन्न । खोला तरेर लौरो बिर्सने परम्पराकै निरन्तरताबीच सफल भनिएको भ्रमणमा सहमतिमा पुगिएका पुराना विषयहरूलाई अर्को भ्रमणमा सोही अवस्थामा दोहोर्‍याउने पृष्ठभूमि यथावत् राख्ने छुट अब सरकारलाई छैन । यसमा सरकारको ध्यान केन्द्रित होस् ।

Page 7
दृष्टिकोण

बहुरूपिया सत्ताले थिचिएको भुइँतह

- चन्द्रकिशोर

 

सत्तासँग प्रश्न गर्नुपर्छ भन्न सजिलो छ । सत्तालाई प्रश्नको कठघरामा उभ्याउनैपर्छ, यसमा कसैको विमति छैन । समाजमा शक्ति कोसँग छ ? निर्वाचित सत्ता, प्राकृतिक स्रोत दोहनकर्ताको सत्ता, धार्मिक कर्मकाण्डमार्फत आर्जेको सत्ता, मिटरब्याजीको सत्ता, सामाजिक सत्ता, दलीय सत्ता जस्ता बहुरूपका सत्ताले गाँजिएको छ भुइँतह । यी सत्ताहरू एकअर्कालाई भरथेग गरिरहेका छन् । केन्द्रीकृत सत्तासँग जुझ्न तुलनात्मक रूपमा सहज छ किनभने त्यसको पहिचान भैसकेको छ । तर यो नवस्थापित स्थानीय सत्ताको संरचनामा कुन–कुन शक्ति संलग्न छन्, पहिचान खुल्न सकेको छैन । त्यसको अनुमान र आकलनसम्म गर्न सकिन्छ ।
संविधानले प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ । तर के भुइँमान्छे आफ्ना उकुसमुकुस, आफ्ना अप्ठ्यारा वा असहमति सहजसँग राख्न पाउने अवस्थामा छन् ? जवाफ संविधानको धारा जस्तो सरल छैन । भुइँतहबाट जसले संगठित रूपमा आफ्नो कुरा राख्न सक्दैनन् वा त्यसलाई अभिप्रेरित गर्ने कुनै संस्था वा व्यक्ति छैन भने तिनको उकुसमुकुसले सम्प्रेषणको स्पेस पाउँदैन । स्थानीयस्तरमा सञ्चालित मिडियाले यिनका कुरालाई मुखरित गरिदिनुपर्ने हो तर मिडिया स्वयं सेल्फ सेन्सरको सिकार भएको छ । मिडिया सत्तालाई असहज बनाउन चाहँदैन । भुइँमान्छे प्रश्न गर्न डराएको अवस्थामा मिडियाले त्यो काम गरिदिनुपर्ने हो, तर त्यो अवस्था छैन ।
स्थानीय मिडियाको संख्या बढेको छ तर त्यो समुदायबाट दूरीमा छ । सीमित घेरामा अल्झिएको छ । निश्चित लाभग्राही वर्गको सेवामा समर्पित छ । यस्तोमा मिडिया प्रश्न गर्न किन हच्किएको छ भन्नु मुनासिब छैन । स्थानीयस्तरको मिडियाले त्यही बोल्छ
जुन स्थानीयस्तरका बहुरूपिया सत्ताले संकेत गर्छन् । त्यसैले भुइँमान्छेहरू भन्छन्, ‘मिडियाले स्थानीय सत्ताको पालकीलाई काँध दिएको छ ।’ मिडियाको काम सत्ताको दलाली गर्ने हो कि ग्राउन्ड जिरोको अभिव्यक्ति प्रस्तुत गर्ने हो ? मिडियाको प्राथमिकतामा भुइँमान्छेको सत्तासँगको सम्बन्धका कुरा छैनन् । जो संगठित भएर आफ्नो थातथलोबाट मार्चपास गर्दै केन्द्रसम्म पुग्दैनन् वा कुनै मजबुत राजनीतिक दलको शरणमा छैनन्, त्यस्ताहरूको आवाज कतै अरण्यरोदन भएको छ त कतै दबाइएको छ भने कतै चुपचाप
आँसु पिउन बाध्य पारिएको छ । सामान्य नागरिक बोल्न खोज्दा स्थानीय सत्ताका हर्ताकर्ताहरूले मुख बन्द गर्न लगाउँछन् । सत्ताहरूले चाहेको आवाज मात्र सुनिन्छ, स्थानीय परिवेशमा एउटै आवाजको प्रतिध्वनि सुनिन्छ । अमुक ठाउँको मिडियाबाट त्यहाँका सत्ताहरूको सही तस्बिर आउन सकेको छैन ।
भुइँमान्छे यति दबाइएका छन्, उनीहरू बोल्न पनि सकिरहेका छैनन् । झट्ट हेर्दा, बहुतहका सरकार छन्Ù स्थानीय सरकार त घरआँगनकै सरकार हो, त्यहाँ त तिनका कुराको सुनुवाइ
हुनुपर्ने हो, समस्या र सरोकारबारे बोल्न तिनीहरू हौसिनुपर्ने हो । स्थानीय सरकारभन्दा अलि पर प्रदेश सरकार छ, जसले मिडियालाई आफ्नो अनुकूल बनाउन कोसिस गर्दै छ कि हिजोसम्म बोल्न नसक्नेलाई स्वर दिन प्रेरित गरिरहेको छ ? विचारणीय छ । स्थानीय सरकार र प्रदेश सरकार अस्तित्वमा आइसकेपछि भुइँतहमा
निर्वाध बोल्न पाइने स्वतन्त्रता हुनुपर्ने हो तर अवस्था संविधानले सोचेको जस्तो छैन ।
साना मान्छेहरूका समस्या सानै छन् । तर ती ससाना दुःखहरू घनीभूत हुँदै आएका छन् । छरिएर रहेका ससाना दुःखहरूले अहिलेका बहुरूपका सत्ताको कान समाउन सकिरहेका छैनन् । यी दुःखहरूको आहाल यसरी नै फैलिँदै गयो भने यसमा कुनै पनि सत्ता डुब्ने निश्चित छ । सामान्य मान्छेको साधारण जस्तो देखिने समस्या, सरोकार वा सहभागिताले राज्यसँग तिनको सम्बन्धलाई अर्थ्याउन खोजिरहेको हुन्छ । जोसँग कुनै पनि रूप र रंगको सत्ता छ, उसले त आफ्ना कुरा जसरी पनि बाहिर ल्याउँछ । संविधानले त्यस्ता उपेक्षित एवं सीमान्तकृत वर्गसमेत बोल्न सकून् भनेर मौलिक हकमार्फत त्यसको प्रत्याभूति गरेको हो ।
भुइँमान्छेले किनारामा ठेलेर पठाइएका मान्छेहरूले अझै स्थानीय सत्तालाई आफ्नो मान्न सकिरहेका छैनन् । स्थानीय बासिन्दाहरूको सुखदुःख सुन्ने र उनीहरूको विश्वास संस्थागत गर्ने राज्यको प्रारम्भिक संरचना स्थानीय सरकार हो । स्थानीय तहले लोकतन्त्रका अवसरहरूलाई चुलाचौकासम्म पुर्‍याउने हो । घरछेउमा कुनै संस्था छ जसले सुनुवाइ गर्छ भन्ने भरोसा स्थानीय सरकारहरूले दिनुपर्ने हो । जनमुखी स्थानीय सरकारले नै स्थानीयस्तरमा टुसाएका गैरराज्यसत्ता संरचनालाई भत्काउन सक्छ । यसले भुइँमान्छेलाई लोकतन्त्रसँग जोड्छ ।
तर सत्य के हो भने, प्रत्येक गाउँको दलित टोल सवर्णहरूको उपनिवेश जस्तो छ । त्यस्ता टोलहरूमा सवर्णहरूकै जमिनदारी र तिनकै कब्जा रहँदै आएको छ । अबको दलित पुस्ताले सवर्णहरूले जस्तो लैंगिक वा जातिसूचक गाली ओकल्दैन, तर पुस्तौंदेखि सुन्दै–भोग्दै आएको अपमान र अस्वीकार्यता मनको सन्दुकमा छोपेर राखेको छ । मनको बह पोख्ने अवस्था अझै आइसकेको छैन । कहींकतै प्रतिरोध पनि गुन्जिन्छ । गाउँ त आज पनि छ, टोलहरू छन् । पालिकाको पगडी पाए पनि त्यसको राजनीतिक भूगोलभित्रका गाउँहरू आफैंमा साझा एकाइ बन्न सकेका छैनन् न त तिनको संस्कृति साझा छ । त्यहाँ अझै पनि जातिको पर्खाल खडा छ, जसले कथित उपल्लो र तल्लो जातिबीच अनुल्लंघनीय सीमा कोरेको छ । कथित उपल्लाहरूको साम्राज्य अझै भत्किएको छैन ।
वर्तमान राजनीतिक व्यवस्थाको एउटा मुख्य अंग र त्यसको प्रमुख पहिचान हो— नवब्राह्मणवाद । यसको अर्थ जातिविशेषको एकाधिकार होइन, त्यस्तो सामाजिक व्यवस्था जसमा सम्पूर्ण अवसरमा प्रभुत्व कायम गरिन्छ । पुरानो जातिप्रथाबाट यो भिन्न छैन तर बाहिरी रूपमा थोरै आधुनिकताको आडम्बर (छुवाछूतको विरोध, दलितहरूको प्रतीकात्मक प्रतिनिधित्व) योसँगै आएको छ । नवब्राह्मणवाद पुँजीवाद र जातिप्रथाको संयुक्त मोर्चाकै अर्को नाम हो । जातिप्रथा र पुँजीवाद दुइटै राष्ट्रिय विकास र जनताको विकासमा बाधक छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान राज्यको अनिवार्य दायित्व हो । संविधान र ऐन–कानुनले स्पष्ट व्यवस्था गरे पनि यसको समयमै कार्यान्वयन नहुँदा समस्या ज्युँका त्युँ छ । भूमिहीनताले मधेशी दलितहरूमा उत्पन्न संकट अन्य दलितको भन्दा पृथक् छ । एउटै सानो कोठामा सासू–ससुरा र छोरा–बुहारी सुत्न बाध्य छन् । कोठाभित्र अटाउन नसके आधा जीउ बाहिर निकालेर सुत्नेहरू पनि छन्, कतैकतै । चर्को गर्मी, चिसो र वर्षाबाट जोगिन सुरक्षित छानो छैन । मधेशको कुनै दलित
बस्तीमा गएर सोध्नुस्, ‘स्थानीय सरकारवालाहरू गाह्रोसाह्रो बुझ्न आउँछन् त ?’ सबैजसोले दिने जवाफ हुने गर्छ, ‘चुनावपछि फर्किएका छैनन् ।’ आखिर यी मेयर–उपमेयरहरूले, अध्यक्ष–उपाध्यक्षहरूले कसको हित संरक्षण गर्छन् ?
अर्कातिर, नागरिकता पाउनैपर्नेले नपाएर दुःख पाइरहेका छन् । एक थरीका लागि नागरिकता पाउन कानुनमै संशोधनको
आवश्यकता छ । यस्ताहरू पनि कम छैनन् जो कानुनबमोजिम पाउनुपर्नेमा कुनै निकायको हेलचेक््रयाइँ, पूर्वाग्रह वा प्रतिशोधले
गर्दा वञ्चित छन् । यस्ताहरूका समस्या एकै थरीका छैनन् ।
स्थानीय सरकारहरूले यस्ता जटिलताहरूको पहिचान गर्नुपर्ने हो तर ‘मुखियाजी’ हरू केन्द्रीकृत शासन प्रणालीकै कार्य व्यवहारको भद्दा अनुसरण गर्न व्यस्त छन् ।
बस्दै आएको ऐलानी जग्गामा, त्यो चाहे नदी वा पोखरीकिनारकै किन नहोस्, बहुरूपका सत्ताको नजर पुगेको छ । स्थानीय सरकारसँग मिलेर मन्दिर, पार्क वा मार्केट बनाउने प्रवृत्ति बढेको छ । विकासका नाममा भूमिहीन दलितहरूलाई उठीबास लगाइँदै छ । संविधान र कानुनमा व्यवस्था भएअनुरूप नागरिकको आवासको अधिकार सुनिश्चित हुन सकेको छैन । उता, ढलान बाटो बनाइन्छ जसले दलित बस्तीलाई डुबानमा पार्छ । तर उपभोक्ता समितिमा सरोकारवालाका नाममा नवस्थापित सत्ताका मुखुन्डाहरू राखिन्छन् । स्थानीय आवश्यकता, रैथाने ज्ञान, सहभागितामूलक विकासको संरचनालाई उपेक्षा गरिएको छ । त्यसैले त बनिबुतो गरेर बाँच्नेहरूलाई झन्झन् दुःख हुँदै गएको छ । खेतीमा बाह्रै महिना रोजगारी छैन । बाहिर गएर कमाउन सक्ने अवस्था सबैको छैन । स्थानीयस्तरमा हुने विकास–निर्माणमा मेसिनको प्रयोगले वा ठेकेदारले सस्तोमा बाहिरबाट ल्याउने श्रमिकहरूले गर्दा रोजगारीबाट तिनको दूरी बढ्दै गएको छ । यता किसानहरू पनि धानगहुँ रोप्ने बेला त श्रमिकहरूलाई काममा लगाउँछन्, काट्ने बेला भने मेसिनको प्रयोग गर्छन् ।
यसरी परम्परादेखि पाइँदै आएका मजदुरीका अवसरहरू खुम्चिएका छन् । कृषिकार्यमा मेसिनको प्रयोगबारे आआफ्ना तर्क होलान्, तर पारम्परिक रोजगारीका क्षेत्रहरू साँघुरिएपछि उत्पन्न रोजगारीको संकटबारे सुनिदिने कोही छैन ।
अचेल इँटाभट्टा उद्योगहरू घरआँगनमा रोजगारीका नयाँ क्षेत्र भएका छन् । त्यहाँ पनि मजदुरी गर्ने पीँधका मान्छेहरूको शोषण र दोहन कम छैन । इँटाभट्टामा सिंगो परिवार मिलेर काम गर्छन् जसले गर्दा महिला र बालबालिकाको अवस्था कमजोर हुन पुगेको छ । कतिपय साहुले चर्को ब्याजमा अग्रिम ऋण दिएका हुन्छन् जसले गर्दा मासिक रूपमा कमाएको पैसाको ठूलो हिस्सा केवल ब्याज तिर्नमै कट्टा हुन्छ । एक पटक ठेकेदारको पासोमा फसेको श्रमिक झन् अल्झिँदै जान्छ । उसले लिएको मूल राशिको थोरै मात्र हिस्सा मासिक रूपमा कट्छ, अधिक त ब्याजमै जान्छ । यसरी सिंगो महिना काम गरिसक्दासमेत ब्याजको रकम मात्र चुकाउन पाउँछ । अहिले साहुहरू ऋणको चक्रव्यूहलाई मधेशको परम्परा हो भनेर चित्रित गर्न खोज्दै छन् । ‘मोडर्न स्लेभरी’ को अनन्त कथा कसले सुन्ने ?
‘मोडर्न स्लेभरी’ बहुतहका सरकार आएपछि निर्मित अर्थराजनीतिको एउटा हिस्सा हो । भुइँमान्छेका अनेक अव्यक्त कथा छन् । स्थानीय सरकारले गरिदिनुपर्ने काम गरिदिनुपर्‍यो । त्यो काम गराउन हेलचेक््रयाइँ र झन्झट एवं बिचौलियाको भूमिका हुनुभएन ।
समयमै हुनुपर्‍यो, सहज हुनुपर्‍यो । गैरराज्यसत्ताको थिचोमिचोबारे सुनुवाइ हुनुपर्‍यो ।

दृष्टिकोण

बजेटमा सधैं उपेक्षित खेलकुद

- राजनविक्रम प्रजापति

सरकारले खेलकुदलाई प्राथमिकतामै राखेन, पर्याप्त बजेट नै छुट्याएन, खेलकुद बुझ्ने राजनीतिज्ञ नै भएन लगायतका बहस खेलकुद जगत्मा नयाँ होइनन् । खेलकुदलाई प्राथमिकतामा राखेर बहस गर्दैगर्दा नेपाली जनताको आर्थिक–सामाजिकसहित समग्र अवस्थालाई पनि भुल्नु हुँदैन । सरकार र जनताको पहिलो प्राथमिकता भनेको पक्कै पनि गाँस, बास र कपास नै हो । त्यसपछि मात्र खेलकुदलगायतका पर्ने गर्छन् र सोहीअनुरूप विश्वको जुनसुकै सरकारले
आफ्नो नीति तथा कार्यक्रम बनाउने गर्छ । त्यसैले त प्रायः समृद्ध राष्ट्रहरू खेलकुदमा पनि अगाडि नै देखिन्छन् ।
समृद्ध राष्ट्रमा उच्च ओहदाका व्यक्तिहरूका तुलनामा खेलाडीको इज्जत, प्रतिष्ठा र सम्मान बढी नै हुने गर्छ । ती राष्ट्रका खेलाडीको हैसियत संसारको कुनै राजनीतिज्ञभन्दा कम हुन्न । छिमेकी मुलुक भारतमै क्रिकेट खेलाडीप्रति सम्मान कुनै राजनेताभन्दा कम हुन्न । युरोपेली र अफ्रिकी देशका फुटबल खेलाडीको लोकप्रियता अझ बढी हुने गर्छ ।
बजेट सरकारको खर्च र आम्दानीको प्रारम्भिक रूप हो । सरकारले विगतमा गरेका कार्यहरूको समीक्षा र वर्तमान स्थितिको अध्ययन गरी भावी कार्यक्रम र कार्यदिशासहितको आय र व्ययको अनुमानित योजना नै बजेट हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने निर्धारण गर्छ । आगामी वर्षमा कुन क्षेत्रमा के गर्ने र कसरी गर्ने आदिबारे आम्दानी र खर्चसहितको विस्तृत विवरण बजेटमा समावेश गरिएको हुन्छ । प्रत्येक आर्थिक वर्ष प्रारम्भ हुनुभन्दा अगाडि सरकारले ल्याउने बजेटमा निर्धारित अवधिभित्र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा के–कति खर्च गर्ने भनी विनियोजन गर्ने र सोको स्रोत पनि अनुमान गर्ने गरिन्छ ।
विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको अवस्थामा समेत नेपाल सरकारले चालु वर्षकै हाराहारीमा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । मनोरञ्जनात्मक र खेलकुद सेवाहरूतर्फ भन्ने शीर्षकमा २ अर्ब ७४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ० दशमलव १६ प्रतिशतभन्दा कम हो । यसलाई खेलकुद विकासका निम्ति पर्याप्त मान्न सकिँदैन ।
नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हालैका दिनहरूमा प्राप्त सफलतालाई हेर्दा यसपालिको बजेटमा सरकारले क्रिकेटलाई विशेष प्राथमिकता दिएको देखिन्छ । त्रिवि क्रिकेट मैदानसहित विभिन्न ठाउँका क्रिकेट रंगशालाको पूर्वाधार निर्माणमा बजेट छुट्याइएको छ । खेलाडीहरू स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने र खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत विषयलाई यो बजेटको सकारात्मक पक्ष मान्न सकिन्छ ।
नेपालमा खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा मात्र लिने गरिएको छ, जसमा परिवर्तन ल्याउनुपर्ने देखिन्छ । राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए पनि पढाइभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई नकारात्मक भावले हेर्ने प्रवृत्ति यथावतै छ । यस्तो चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ । खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय–विश्वविद्यालयको पठनपाठनमा तत्काल समावेश गर्नुपर्छ जसले गर्दा धेरै खेलकर्मीले रोजगारी पाउन सक्छन् ।
मुलुकका अरू क्षेत्रमा जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएको छ, जसका कारण प्रतिभा पलायन बढ्दो छ । कतिपय खेलाडीले सधैं अवसर पाइरहने तर कतिपय खेलाडी प्रतिभावान् भईकन पनि ओझेलमा पर्ने गरेका उदाहरण प्रशस्त छन् जसले गर्दा समग्र खेलाडीको मनोबल घट्दै गएको छ । केही समयपहिले मात्र अत्यन्तै सक्षम, सफल र करियरको उच्चतम बिन्दुमा रहेका ख्याति प्राप्त थुप्रै राष्ट्रिय फुटबल खेलाडी नेपालमा भविष्य सुनिश्चित नदेखेर अस्ट्रेलिया पलायन भएका थिए ।
अर्कातिर, नेपाली खेलकुदले नैतिकतावान् र इमानदार खेलकुदकर्मीको अभाव झेलिरहेको छ । कतिपय व्यक्ति सदाबहार रूपमै खेल क्षेत्रमा स्थापित छन् । कतिसम्म भने, एउटै व्यक्तिले धेरै वटा खेलकुद संस्थाको नेतृत्वमा हैकम जमाइरहेको देख्न सकिन्छ । नियम, विधानले अवरोध गरेको अवस्थामा एउटा संघमा नेतृत्व गरिरहेको व्यक्तिलाई एकरत्ति ज्ञानै नभएको अर्को संघको नेतृत्वमा पनि हामीले देखेका छौं । आफू नेतृत्वमा पुगिसकेपछि विभिन्न बखेडा झिकी त्यसैमा टाँसिइरहने स्वभावले नेपाली खेलकुदमा धेरै सक्षम व्यक्तिले अवसर पाउन सकेका छैनन्, चाकडी र चाप्लुसी बढ्दै गएको छ । त्यस्ता व्यक्तिले खेल र खेलाडीको उन्नतिभन्दा आफ्नो फाइदालाई प्राथमिकतामा राख्दा नेपालको खेल क्षेत्र अन्य पेसा–व्यवसायभन्दा पछाडि त परेको छ नै, आम जनताले दिने मानसम्मान, इज्जतमा पनि कमी हुँदै गएको छ ।
राजनीतिक पार्टी र राजनीतिज्ञहरूले पनि खेल क्षेत्रलाई त्यत्ति महत्त्वका साथ हेर्ने गरेको पाइँदैन । त्यसैले त सरकार गठनका क्रममा मन्त्रालय बाँडफाँटमा युवा तथा खेलकुद मन्त्रालय सधैं ओझेलमा पर्ने गरेको छ । सबै राजनीतिक पार्टीहरू अरू मन्त्रालय नपाएको अवस्थामा मात्र खेलकुदको जिम्मा लिन तयार हुन्छन् ।
सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने खेलकुद क्षेत्र सधैं उपेक्षित हुँदै आएको छ । पर्याप्त बजेट छुट्याउन सकेमा खेलकुद क्षेत्रको उन्नति हुनुका साथै राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव बढाउने खेलकुद र खेलकर्मीप्रति न्याय गरिएको महसुस हुनेछ ।
प्रजापति पूर्वबक्सिङ खेलाडी तथा आइबा रेफ्री हुन् ।

दृष्टिकोण

भिन्न राजनीतिज्ञ रूपचन्द्र

- शन्तराम बिडारी

 

असार ७ गते, थाहा आन्दोलन/अभियानका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २४ औं स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा आफ्नो
राजनीतिक कालखण्डभर विभिन्न कारणले चर्चामा रहेका उनी मकवानपुरे जनताका असल प्रतिनिधि थिए । उनको ‘थाहा अभियान’ कै सम्झनास्वरूप अहिले उत्तरी मकवानपुरको एउटा नगरपालिकाको नाम नै थाहा नगरपालिका राखिएको छ ।
उत्तरी मकवानपुरको घर्तीखोलामा १९९० पुस २६ मा जन्मिएका रूपचन्द्रको २०५६ असार ७ गते वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी एक औसतभन्दा फरक विद्रोही जनप्रतिनिधि थिए । उनले आजीवन मान्छे जगाउने यात्रामा आफूलाई होमे । राजनीति ‘गरिब, निमुखा, झुप्रे र छाप्रेहरूका लागि हुनुपर्छ’ भन्ने उनको धारणा थियो । ‘श्रमिकको राजनीति पुँजीपतिले गरिदिएर हुँदैन, गरिबको राजनीति धनीले गरिदिएर हुँदैन, महिलाको राजनीति पुरुषले गरिदिएर हुँदैन,’ उनी भन्थे, ‘आफ्नो राजनीति आफैंले गर्नुपर्छ । त्यसका लागि जनता जाग्नुपर्छ, जाग्नका लागि थाहा चाहिन्छ ।’
रूपचन्द्र तत्कालीन परिवेशमा आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएका हुन् । उनका बुबा नेपाली सेनामा मेजर थिए । तर कलिलो उमेरमै रूपचन्द्रले घरपरिवारको कडा अनुशासन, सुखसयलको जिन्दगी त्यागी नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए ।
कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव पुष्पलालको अंगरक्षक एवं काठमाडौं जिल्ला समिति सदस्य भएर रूपचन्द्रले काम गरे । निर्मल लामा लगायतसँग उनको घनिष्ठता थियो । उनलाई लामाले काठमाडौंको पश्चिमी इलाका कीर्तिपुर, पाँगा, नैकाप, थानकोट लगायतमा किसान जागरण अभियानको जिम्मेवारी दिएका थिए । उनी विद्रोही स्वभाव र दार्शनिक सोचका कारण अरूभन्दा फरक देखिए । आफ्ना
केही स्वभावजन्य कारणले उनी २०११ सालमा पुष्पलाल र लामासँग पनि बसिरहन सकेनन् । पार्टीको संगठन नभए पनि जनता जगाउन सकिन्छ भन्ने दृढ मान्यता राख्ने उनी कम्युनिस्ट सिद्धान्तबाट भने जीवनकालभरि विचलित भएनन् ।
२०१५ सालको आम निर्वाचनमा रूपचन्द्र स्वतन्त्र कम्युनिस्टको परिचयमा उम्मेदवार भए । त्यस बेलाका कम्युनिस्ट कार्यकर्ताले उनका पक्षमा खुलेर प्रचार गरेका थिए । राजनीतिमा लागे पनि उनले आफ्नो प्राज्ञिक स्वाध्ययनलाई छाडेनन् । उमेर ढल्केपछि पनि उच्च शिक्षा हासिल गर्न स्नातकमा भर्ना भए । उनले कानुनमा स्नातक परीक्षा दिईवरी उत्तीर्ण भए पनि सबैको रोहबरमा ती प्रमाणपत्रहरू जलाइएको उनका अत्यन्तै नजिकका राजनीतिक चेला वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य रामनारायण बिडारी बताउँछन् । ती प्रमाणपत्रहरू समाजलाई धोका दिन मात्र काम लाग्ने र असल मान्छे हुन त अनुभव, अनुभूति र साक्षात्कार अर्थात् थाहा हुनुपर्छ भन्ने मान्यताका कारण रूपचन्द्रले जलाएको बिडारीको भनाइ छ । रूपचन्द्रले साविकको दामन गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार भई निर्वाचन जिते । यसअघि उनी वडाध्यक्षसमेत भएका थिए । उनले २०१९ सालमा काठमाडौंको कालीमाटी ग्राममा पनि निर्वाचन जितेका थिए ।
रूपचन्द्रले कम्युनिस्टको अभ्यास–व्यवहार र त्यसलाई साथर्कता दिने काम प्रधानपञ्चकालमै गरेका थिए, जसका कारण उनलाई सार्वजनिक सुरक्षा ऐन लगाएर सरकारले कारागारमा राख्यो । त्यो बेलै उनले धेरै नमुनाका विकास र जनमुखी कामहरू गरेका थिए । यही समयमा पालुङ उपत्यकामा हाइस्कुल खुल्यो । ३८ वटा बिहानी साक्षर कार्यक्रम सञ्चालनमा आए । विकासघर निर्माण भयो । आधुनिक खेती चल्यो । निर्दलीय व्यवस्थाविरुद्ध जनचेतना बढ्दै गयो । सामन्त, जाली, फटाहाहरू र शासकबाट गरिने सबै ज्यादतीविरुद्ध जनता जागरुक भए । यसै अवधिमा उनले आफैंलाई नमुनाका रूपमा प्रस्तुत गर्दै क्रान्तिकारी तवरले विवाह गरे । कालान्तरमा सो विवाह र परिवार अस्तव्यस्त भयो । तर पनि उनी हरपल जनता जगाउने कार्यमा सक्रिय भइरहे ।
निर्दलीय दबदबाका कारण आफैंले स्थापना गरेको हाइस्कुलको प्रधानाध्यापक पद छाडेर दामनमा उनी नौ वर्ष बाख्रा पालन गरेर बसे । आफ्नै खाना पसल र लज खोली आफैंले सबै काम गरेर दामनको टावरमा पर्यटकलाई घुमाउने काममा समेत उनी संलग्न भए । यसले मकवानपुरको दामनलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन असाध्यै मद्दत पुगेको थियो ।
खासमा २०२० देखि २०३७ सालसम्मै उनको जनमुखी अभ्यासकाल थियो । आफ्नो ज्ञान र अनुभूतिलाई थाहा दर्शनका रूपमा २०३८ सालको दोस्रों आम निर्वाचनदेखि बाचुञ्जेल सम्प्रेषण गरे । थाहा आन्दोलन वास्तवमा अहिले चल्तीमा आएको सूचनाको हककै अभियान थियो । थाहा आन्दोलनले निर्दलीय व्यवस्था र राजतन्त्र समाप्त पार्न ठूलो बल
दिएको थियो । ‘थाहासँग प्रेम गर, थाहा तिमीसँग आउँछ,’ उनी भन्ने गर्थे ।
बलिष्ठ शरीर, गहिरो अध्ययन, अपार ज्ञान भण्डार भएका उनमा अदम्य साहस पनि थियो । शासकहरू उनीदेखि सधैं आतंकित हुन्थे । राष्ट्रिय पञ्चायत सदस्य हुँदा उनलाई जेल हालियो । राजाका दूत जेलमा गएर भने, ‘जीवन जेलमै बिताउने कि महाराजले दिएको सबै मन्त्रालय हेर्ने गरी मन्त्री बन्ने वा प्रधानमन्त्री ? वा रोजेको मन्त्री ?’ रूपचन्द्रले ती दूतलाई लेखेर दिए, ‘तिम्रा यस्ता बेठीक व्यवस्थामा हामीजस्तालाई मन्त्री पदमा पाइँदैन । मेरो ज्यान बाहिरभन्दा यही जेलमा राख्न उपयुक्त छ । किनकि, यहाँ मारिँदा त दोष अरूलाई लगाउन मिल्दैन होला नि !’ उनले एउटा प्रसंगमा भनेका थिए, ‘जिउँदो मान्छे अदालतमा लडिरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ ।’
कसैले माननीय भनेर सम्बोधन गर्दा उनी सोध्थे, ‘जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उनीहरूको प्रतिनिधि माननीय हुँदैन । जब जनता जाननीय हुन्छन्, तब उनीहरूको प्रतिनिधि माननीय हुन्छ ।’ २०३९ सालमा उनले जनतालाई सार्वजनिक प्रश्न गरे, ‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ?’ यो प्रश्न अहिलेका दलहरू र नेताका लागि पनि उत्तिकै महत्त्वको छ । यसैगरी एउटा पर्चामा उनले भनेका थिए, ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यथार्थमुखी कर्तव्यमुखीबाहेक पछुवा–भगुवा सारा दोषी ।’ त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए । व्यवस्थाका अगुवा राजा थिए । तसर्थ, दोषी राजा नै हुन् भनी किटान गरिएको थियो ।
जीवनको उत्तरार्धमा रूपचन्द्र नराम्ररी थाकेका थिए ।
आफ्नो निधनअघि वीर अस्पतालमा उनले आफ्ना निकटस्थहरूसँग भनेका थिए, ‘मान्छे या त जाग्दै जागेनन्Ù जे जति जागे, जालीफटाहालाई काम लागे । अब मेरो कुनै काम रहेन, बाँच्नुपर्ने कुनै कारण रहेन ।’
रूपचन्द्र आफैंजस्ता थिए, मौलिक । उनीसँग कसैले सक्दैनथ्यो ।
वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल एकताका विद्यालयका शिक्षक थिए भने रूपचन्द्र राष्ट्रिय पञ्चायतका सदस्य । रूपचन्द्र त्यति बेला हेटौंडाको महेन्द्र चोकमा पर्चा बेच्दै थिए । त्यो देखेपछि पौडेलले पर्चा लैजाने कुरा गरेछन् । रूपचन्द्रले सायद हिसाब गरेर पैसापछि दिने सर्तमा पौडेललाई ३५ रुपैयाँको पर्चा दिए । पैसा दुई–चार दिनभित्र दिने प्रतिबद्धतापछि पौडेल हिँडे ।
बीचबीचमा भेट्दा पनि पौडेलले पैसा नदिएपछि रूपचन्द्रलाई रिस उठेछ । तीन–चार महिनासम्म पनि पैसा नपाएपछि उनी पौडेलको नवलपुरस्थित घर गएछन् ।
उति बेला पौडेल न्यून आय भएका सामान्य मान्छे नै थिए । घरमै पुगेर रूपचन्द्रले ‘खै ले त भाते, त्यो ३५ रुपैयाँ’ भनेछन् । पौडेलले पैसा दिन आलटाल गरेपछि रूपचन्द्र आफैं घरभित्र छिरेर खाटमा हालिराखेको राम्रो तन्ना टिपेर हिँडेछन् । रूपचन्द्रले सो तन्ना ल्याएर चौतारोका वरपीपलमा झुन्ड्याएर र कागजको टुक्रामा लेखेछन्, ‘यो डोरमणि पौडेलको तन्ना हो, रु. ३५ मा लिलाम बढाबढ छ ।’
त्यहाँ धेरै मान्छे जम्मा भए । त्यो सुनेपछि पौडेल पनि हस्याङफस्याङ गर्दै पुगेछन् । अनि गोजीबाट ३५ रुपैयाँ निकालेर थमाउँदै तन्ना लिएछन् ।
बिडारी रत्नराज्य लक्ष्मी क्याम्पसका पत्रकारिता विषयका अध्यापक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।

Page 8
परदेश

वाक् स्वतन्त्रताका लागि प्रदर्शन

- कान्तिपुर संवाददाता


अर्जेन्टिनाको सान साल्भाडोरमा मंगलबार प्रदर्शनकारीलाई रोक्दै सुरक्षाकर्मी । प्रदेशको संवैधानिक सुधारका लागि केन्द्र सरकारले ल्याएको नयाँ प्रावधानबाट विरोधको अधिकार खोसिने भन्दै प्रदर्शन चर्किएको छ । तस्बिर : एपी

परदेश

भोकमरीको मारमा इथियोपिया

- कान्तिपुर संवाददाता

 

नैरोबी (एजेन्सी)– संयुक्त राष्ट्रसंघ र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) लगायत दातृ निकायले खाद्यान्न आपूर्ति बन्द गरेपछि अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या देखिएको छ । दातृ निकायले दिएको खाद्यान्नमा अनियमितता भएपछि तत्कालका लागि सहयोग रोकिएको राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको हो । यूएसएआईडीले पनि केही दिनअघि मात्र इथियोपियालाई खाद्यान्न सहयोग रोकेको थियो । खाद्यान्न चोरीमा इथोपियन सरकारका अधिकारी वा विद्रोही पक्ष संलग्न थिए भन्ने स्पष्ट नभएसम्म सहयोग रोक्ने उनीहरूले बताएका हुन् ।
‘लक्षित वर्गलाई दिइएको खाद्यान्न अन्यत्र दिने कार्य स्वीकार्य छैन । यद्यपि, यस मामिलामा जाँच र जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने इथोपियन सरकारको प्रतिबद्धतालाई स्वागत गर्छौं,’ डब्लूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याकेनले भने । १२ करोड जनसंख्या भएको इथियोपियामा करिब २ करोड नागरिक सुक्खा र द्वन्द्वका कारण भोकमरीको चपेटामा छन् । उनीहरूलाई धेरैजसो सहायता यूएसएआईडी र डब्लूएफपीबाट हुँदै आएको छ । यी निकायले सहयोग बन्द गरेपछि अफ्रिकाकै दोस्रो धेरै जनसंख्या भएको उक्त देशमा फेरि कुपोषण बढ्ने अनुमान गरिएको छ ।
यूएसएआईडी, डब्लूएफपी र इथोपियन सरकार कसैले पनि खाद्यान्नमा भएको अनियमितताको जिम्मेवार को हो भन्ने स्पष्ट पारेका छैनन् । चालु वर्षको सुरुवातमै यूएसएआईडीकी अधिकारी सामन्था पवारले अमेरिकी विदेशी सम्बन्ध समितिमा इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा मिलेमतोमा खाद्यान्नमा अनियमितता भएको जनाएकी थिइन् ।
यूएसएआईडीको साथ संयुक्त विज्ञप्ति जारी गर्दै इथियोपियाको विदेश मन्त्रालयले यसबारे अमेरिकासँग मिलेर अनुसन्धान गरिने स्पष्ट पारेको छ । उनले खाद्यान्नमा यस प्रकारको अनियमिततामा संलग्नलाई कारबाही गर्ने पनि दाबी गरेको छ । खाद्यान्न अनियमितता देखिएको टिग्रे क्षेत्र लामो समयदेखि द्वन्द्वग्रस्त स्थान हो । त्यहाँ खाद्यान्न चोरीको खबर आएपछि दातृ निकायले अघिल्लो महिनादेखि नै सहयोग स्थगित गरिएको थियो । उक्त क्षेत्रका ६० लाख मानिसमध्ये ५४ लाख दातृ निकायको सहायतामा निर्भर छन् ।
उत्तरी इथियोपियाको एक चर्चका पादरी टेस्फा किरोस मेरेस्फा केही दिनयता खाद्यान्न माग्दै हिँडेका छन्, जबकि उक्त क्षेत्रमा दुई वर्षदेखिको युद्धका कारण थुप्रै व्यक्ति भोकमरीको चपेटामा छन् । ‘यो पीडाका बारेमा बयान गर्न मसँग कुनै शब्द छैन,’ टेस्फाले भने । टिग्रे क्षेत्रमा सहयोग रोकिँदा भोकमरीका कारण मृत्युका घटना सार्वजनिक भइरहेको समाचार संस्था एपीले जनाएको छ । द्वन्द्वबाट पीडित सयौं मानिसहरूसँग एउटा विद्यालय परिसरमा बस्ने टेस्फाले खाद्यान्नको समस्या भोगिरहेको बताए । ‘हामी धेरैजसो दिन खान नपाई सुत्नुपर्ने बाध्यतामा छौं,’ उनले भने ।
गत वर्ष सन् २०२२ मा इथियोपियाको मानवीय सहायता क्षेत्रमा यूएसएआईडी ले १.८ अर्ब अमेरिकी डलर सहयोग दिन ढिलाइ गर्दा र खाद्यान्न समयमै आपूर्ति नहुँदा ठूलो समस्या देखिएको थियो । लाखौं व्यक्ति भोकमरीको मारमा परेका थिए भने मौज्दात रहेका खाद्यान्न लुटपाट भएको थियो । राष्ट्रसंघका अनुसन्धानकर्ताले भोकमरीसँग जोडिएको युद्ध अपराधको चेतावनी दिएका थिए ।
अहिलेको भोकमरीलाई भने भ्रष्टाचारसँग जोडिएर हेरिएको छ । टिग्रेका अधिकारीले आफ्नो क्षेत्रमा सहयोगस्वरूप प्राप्त ७ हजार मेट्रिक टन गहुँ लुटिएको जनाएका छन् । अन्य क्षेत्रमा खाद्यान्न लुटपाटको यकिन विवरण अझै सार्वजनिक भएको छैन । खाद्यान्न अनियमिततामा सरकारी निकायका अधिकारी संलग्न हुने गरेको दातृ निकायका पदाधिकारी बताउँछन् । इथियोपियाका सरकारी निकायका कर्मचारीले लाभग्राहीको संख्या बढाउने र आफ्ना लागि खाद्यान्न सुरक्षित गर्ने गरेको पनि आरोप छ ।
इथियोपियामा अहिले कृषि उत्पादनको मौसम सकिएको छ । अबको मौसममा कम उत्पादन हुने गर्छ । त्यसैले ठूलो संख्यामा स्थानीय भोकमरी चपेटामा पर्ने भएका छन् । टिग्रेको मुख्य अस्पतालले पनि मार्चदेखि अप्रिलसम्म कुपोषणको समस्या लिएर भर्ना हुने बच्चाको संख्या २८ प्रतिशतले वृद्धि भएको जनाएको छ । तर, यूएसआईडीका वरिष्ठ अधिकारीहरूले इथियोपियामा पुनः सहयोग सुरु गर्न सुधारको सम्भावना कम देखेको उल्लेख गरेका छन् । केही साताअघि विज्ञप्ति जारी गर्दै डब्लूएफपीले इथियोपियाका बच्चा, आमा, सुक्खाबाट प्रभावित पशुपालकका लागि गर्दै आएको सहयोगमूलक कार्यक्रम भने जारी रहने जनाएको थियो ।

परदेश

छोटकरी

- कान्तिपुर संवाददाता


टाइटनिकको अवशेष हेर्न गएको पनडुब्बी चार दिनदेखि बेपत्ता
लन्डन (एजेन्सी)– टाइटनिकको अवशेष हेर्न पाँच यात्री बोकेर एटलान्टिक महासागरमा गएको पनडुब्बी चार दिनदेखि बेपत्ता भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो । विशेषज्ञले सोमबार पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको अनुमान गरेका छन् । टाइटनिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ४३५ माइल गहिराइमा छ । यद्यपि, पनडुब्बीको खोजी अमेरिकाको बोस्टनबाट चलिरहेको छ । ओसियन गेट कम्पनीले पाकिस्तानी मूलका अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान दाउद, बेलायतका अर्बपति व्यवसायी हामिस हर्डिङ, फ्रेन्च एक्स्प्लोरर पल अनरी नर्जलेट र स्कटल्यान्डका रस भीलाई यात्रामा लगेका थिए ।
ॅअमेरिकामा ब्याजदर वृद्धि आवश्यक’
वासिङ्टन डीसी (रासस/एएफपी)– अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताएका छन् । बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक वर्षभन्दा केही बढी समयको अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरेपछि ब्याजदर स्थिर राख्ने पक्षमा अमेरिकी संसद्मा मतदान गरेको केही समयपछि पावेल ‘हाउस’ र ‘सिनेट’ समक्ष उपस्थित भएका हुन् । प्रतिनिधिसभाको वित्तीय सेवासम्बन्धी समितिका लागि तयार पारिएको टिप्पणीमा उनले यस वर्षको अन्त्यसम्ममा ब्याजदरलाई केही हदसम्म बढाउनु उपयुक्त हुने जनाएका छन् । ‘फेडले २०२२ मार्चदेखि आफ्नो महत्त्वपूर्ण कर्जा दरलाई ५ प्रतिशत अंकले बढाइसकेको छ, जुन शून्यको नजिकबाट ५.० देखि ५.२५ प्रतिशतको दायरामा पुगेको छ । तर यी आक्रामक कदमहरूको बाबजुद, मुद्रास्फीति फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा ‘धेरै माथि’ छ,’ उनले भने । अमेरिकामा यस वर्षको औसत मुद्रास्फीतिको अपेक्षा ३.२ प्रतिशतमा झरेको छ भने अस्थिर खाद्य र ऊर्जा मूल्यहरू समावेश नगर्ने आन्तरिक मुद्रास्फीतिको प्रक्षेपण वार्षिक ३.९ प्रतिशतको दरले वृद्धि भएको फेडले जनाएको छ ।
होन्डुरसको महिला कारागारमा झडप हुँदा ४१ को मृत्यु
तेगुसिगाल्पा (रासस/एएनआई)– मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ । मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकनपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले भने, ‘मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई संगठित अपराधले ‘अपहरण’ गरेको छ ।’ होन्डुरसमा यस्तै घटना सन् २०१९ मा पनि भएको थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो । होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक संगठनहरू ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडका क्रममा धेरै कैदीहरूको हत्या गरिएको छ ।

Page 9
अर्थ वाणिज्य

पोखरामा ‘ड्रागन’ पाइला

- दीपक परियार

(पोखरा)
फेवातालमा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ का सहभागी लिएर सिचुवान एयरलाइन्सको एयरबस–३१९ चीनको छेङ्दुबाट बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ ।
विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय चार्टर उडान भएको हो । छेङ्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट २ घण्टा ५० मिनेटको उडानपश्चात् बिहान ९ बजेर ६ मिनेट जाँदा उक्त विमान पोखरा विमानस्थल अवतरण गरेको हो । विमानमा फेस्टिभलमा सहभागी हुन आएका लिन्जी नगरका प्रमुख, सिचुवान नगरका उपप्रमुख, खेलाडी, सञ्चारकर्मी, चिनियाँ अधिकारी, चालकदलसहित ८४ जना थिए । चीन भ्रमणमा पुगेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना नेतृत्वको ७ सदस्यीय टोली पनि उक्त विमानबाट पोखरा झरेका थिए । पोखरामा २ घण्टा बसेर उक्त विमान बुधबार काठमाडौंका लागि उड्यो ।
अन्तर्राष्ट्रिय उडानबाट पहिलोपल्ट पोखरा आएका पाहुनालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । पाहुनाको स्वागतमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पोखरा महानगर प्रमुख धनराज आचार्य, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छन सोङ पोखरा विमानस्थल पुगे ।
पहिलो अन्तर्राष्ट्रिय उडान हुनुले पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ चीनबाहिर दक्षिण एसियामै पहिलोपल्ट नेपालमा हुन लागेको हो । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना यो उत्सव शुक्रबार र शनिबार फेवातालमा हुँदै छ । शीतनिद्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्षअघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ । ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् । पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् ।
प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ टोलीले भाग लिँदै छन् । नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसियसन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् । तालमा ५ सय मिटर र २ सय मिटरको दुई विधामा प्रतियोगिता हुने छ । सहभागी आठवटै टोलीले वरीयताका आधारमा पुरस्कार पाउने छन् । पहिलो हुने टोलीले ५ लाख ५० हजार/५ लाख ५० हजार पाउने छन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ । नेपाली टोलीलाई र्‍याफ्टिङ तथा कायाकिङका राष्ट्रिय प्रशिक्षक निमबहादुर मगरले प्रशिक्षण गराइरहेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार फेस्टिभलका लागि चीनबाटै नेपालको केरुङ नाका हुँदै आठ वटा विशेष खालका डुंगा पोखरा ल्याइएको छ । अन्य आवश्यक सामग्री र प्रशिक्षक एक साताअघि नै पोखरा आइपुगेका थिए । चीनले यस प्रकारको डुंगा दौड उत्सव ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आइरहेको छ । यस वर्षदेखि हरेक वर्ष ड्रागन बोट रेस फेस्टिभल पोखरामा हुनेछ । ‘नेपालमा पहिलोपल्ट आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्छ,’ परिषद् अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यसलाई हरेक वर्ष निरन्तरता दिने गरी नै योपल्ट कार्यक्रम आयोजना गरिएकाले पोखराको पर्यटनमा यो नयाँ प्रडक्टका रुपमा थपिने छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिब्बती राजा स्रङचङ गम्पो र नेपालकी राजकुमारी भृकुटीबीचको विवाहको प्रसंग निकाले । ‘नेपालमा चिनियाँ आउँदा हामीलाई पाहुना आएजस्तो लाग्दैन, भान्जाभान्जी आएजस्तो लाग्छ,’ उनले चिनियाँ पर्यटकतिर फर्किएर सोधे, ‘के तपाईंहरूलाई मामा घर आएजस्तो लाग्दैन ?’ उनले बीपी कोइराला र माओबीच भएका सम्झौताहरूको स्मरण गर्दै प्राकृतिक सिमानाजस्तै चीन र नेपालबीचको सम्बन्ध पनि अग्लो रहेको बताए । चार्टर्ड उडान लामो यात्राको पहिलो पाइला भएको बताउँदै उनले व्यावसायिक उडानलाई निरन्तरता दिनु ठूलो कुरा रहेको उल्लेख गरे ।
राजदूत छन सोङले अन्तर्राष्ट्रिय चार्टर उडानले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’ को नयाँ अध्याय सुरु भएको बताए । ‘कनेक्टिभिटी बीआरआईको महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जालको महत्त्वपूर्ण पक्षका रूपमा पोखरा विमानस्थल सञ्चालन भएको छ ।’ महानगर प्रमुख धनराज आचार्यले विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको मित्रता थप प्रगाढ बन्ने र लिन्जी, सिचुवानलगायत चीनका अन्य नगरसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । ‘चीनले भावी दिनमा पनि त्यहाँका विभिन्न मुख्य सहरबाट नियमित उडान भर्न प्रेरित गर्ने अपेक्षा छ,’ उनले भने, ‘पोखराको उद्योग, पर्यटन र पूर्वाधारको विकासमा लगानी वृद्धि गर्न पोखरा महानगरपालिकाका तर्फबाट अनुरोध गर्छु ।’
नेपालमा चिनियाँ पर्यटक बढाउने फेस्टिभलको उद्देश्य रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए ।

कार्यक्रमकै अवसरमा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी पनि हुनेछन् । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर बसेको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि सघाउ पुग्नेछ,’ उनले भने ।
कोभिड–१९ अघि नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी पर्यटक आउने मुलुकमा चीन थियो । अहिले कोभिडपछि यो संख्या घटेको छ । चीनले नेपाललाई पनि खुला गरेकोले पछिल्लो दिनमा नेपालमा आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ । सन् २०२३ को मे महिनामा नेपाल आउने पर्यटकमा भारत, अमेरिकापछि चीन तेस्रो स्थानमा छ । मे महिनामा ४ हजार ६ सय ६७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना अघि पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत चिनियाँ रहेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी सम्झन्छन् । ‘नेपाल आउने चिनियाँमध्ये ९० प्रतिशत पोखरा आउँछन्,’ उनले भने, ‘चिनियाँ पर्यटक बढाउन सके पोखराको पर्यटन थप उकासिन्छ ।’
पोखरामा व्यवसाय गर्ने चिनियाँ संगठित भएर ओभरसिज चाइनिज एसोसिएसन नामक संस्था नै गठन गरेका छन् । पर्यटन व्यापार विस्तारकै लागि पोखरा र चीनका विभिन्न सहरबीच भगिनी सम्बन्ध पनि कायम भएका छन् । अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित भइसकेका सहरबाट विभिन्न विकास निर्माण तथा आर्थिक, भौतिक सहयोग भित्र्याउने उद्देश्यसाथ सम्बन्ध कायम गरिएको हो । अहिले पोखरा महानगरपालिका र चीनको कुनमिङ, गोन्जाओ र तिब्बतस्थित लिन्जी सहरबीच भगिनी सम्बन्ध स्थापित भएर सहयोगसमेत आइसकेका छन् । पहिलोपल्ट लिन्जीसँग २०६४ मा सम्बन्ध गाँसिएको थियो । सन् २०१३ मा नेपालमा छायांकन भएको चिनियाँ फिल्म ‘अप इन द वाइन्ड’ प्रदर्शनमा आयो । सांघाइमा काम गर्ने महिला पत्रकारले नेपाल यात्राबारे लेख्न काठमाडौं, चितवन र पोखरा घुमेको कथा फिल्ममा छ । काठमाडौंका पुरातात्त्विक स्थल, चितवनको जंगल सफारी र पोखराका साहसिक गतिविधि र सुन्दर दृश्य फिल्ममा देखाइएको छ । तेङ हुआताओको निर्देशनमा बनेको फिल्ममा नि नि र जिङ बोरान मुख्य भूमिकामा छन् । सन् २०१९ मा चर्चित चिनियाँ अभिनेत्री सु–छिङसमेत पोखरा भ्रमणमा आएकी थिइन् ।
उक्त फिल्ममा देखाइएको लोभलाग्दा दृश्यले चिनियाँ पर्यटक पोखरा भित्र्याउन सहयोग पुगेको व्यवसायी बताउँछन् । फिल्ममा पोखराको सराङकोटबाट गरिने प्याराग्लाइडिङसमेत समावेश भएपछि साहसिक पर्यटनले थप फड्को मारेको नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताए । उनका अनुसार कोभिड महामारी अघि प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये ५० प्रतिशत चिनियाँ हुने गर्थे । ‘प्याराग्लाइडिङ धानेकै चिनियाँ पर्यटकले थियो,’ उनले भने, ‘पोखरा आउनेमध्ये ८० प्रतिशत चिनियाँले प्याराग्लाइडिङ गर्छन् । अब चिनियाँ पर्यटक बढ्दा प्रत्यक्ष फाइदा साहसिक गतिविधिमा हुनेछ ।’ प्याराग्लाइडिङबाहेक अल्ट्रालाइट, बन्जीजम्प, जिपलाइन,
र्‍याफ्टिङमा पनि चिनियाँ पर्यटकको योगदान रहेको उनी सुनाउँछन् । पछिल्लो समय पदयात्रा गर्ने चिनियाँ पर्यटकको संख्या बढिरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘चिनियाँहरू छोटो पदयात्रा गर्न रुचाउँछन्,’ उनले भने, ‘अहिले अन्नपूर्ण आधार शिविर, मर्दी, घोरेपानी–पुनहिल पदयात्रामा चिनियाँ देखिएका छन् ।’

अर्थ वाणिज्य

विकास भन्दा सावाँब्याज भुक्तानीमा बढी बजेट चाहिने

- यज्ञ बञ्जाडे

(काठमाडौं)
सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रगति विवरणले यस्तो देखाएको हो ।
सरकारले तिर्न बाँकी कुल ऋणमध्ये बाह्यभन्दा आन्तरिक ऋण करिब २६ अर्बले बढी छ । गत जेठसम्म १० खर्ब ९९ अर्ब ७२ करोड आन्तरिक ऋण र १० खर्ब ७३ अर्ब ५२ करोड बाह्य ऋण तिर्न बाँकी छ । गत जेठसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ७४ हजार ४ सय ४५ रुपैयाँ बराबर ऋण छ । जेठसम्मको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब ४०.३८ प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
सरकारले हरेक वर्ष घाटा बजेट ल्याउने प्रवृत्ति बढ्दै गएकाले मुलुकलाई सार्वजनिक ऋणको भार बढ्दै गएको छ । अहिलको सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा स्रोत अपुग हुने ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ ऋणमार्फत पूर्ति गर्ने लक्ष्य लिएको छ । जसअनुसार वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाइने सरकारी लक्ष्य छ । जसको अर्थ आगामी आवमा करिब साढे ४ खर्ब रुपैयाँ
सार्वजनिक ऋण थपिने निश्चित
छ । यद्यपि उक्त अवधिमा पुरानो ऋणको सावाँब्याज भुक्तानी कति हुन्छ, त्यसले कुल सार्वजनिक ऋणको अवस्था देखाउँछ ।
आगामी आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये ११ खर्ब ४१ अर्ब ७८ करोड (२० प्रतिशत) चालु खर्च, ३ खर्ब २ अर्ब ७ करोड (१७.२५ प्रतिशत) पुँजीगत र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत) छुट्याइएको छ । वित्तीय व्यवस्थापनका लागि विनियोजन गरेको बजेट पुँजीगत खर्चभन्दा बढी हो । यसले पछिल्ला वर्षमा राज्यलाई ऋणको भार बढ्दै गएकाले सरकारले विकास निर्माणमा भन्दा ऋणको सावाँ भुक्तानीलाई बढी प्राथमिकता दिएको पुष्टि हुन्छ ।
गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ थियो भने वैशाखमा आइपुग्दा बढेर यो २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । वैशाखदेखि आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको हो । गत वर्षको तुलनामा चालु आवमा सरकारले तिर्न बाँकी ऋण करिब साढे २ खर्ब रुपैयाँले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको ११ महिनामा सरकारले तीन खर्ब ६ करोड ऋण उठाएको छ भने दुई खर्ब पाँच अर्ब १७ करोड बराबर सावाँब्याज भुक्तानी गरेको छ । उक्त अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको सावाँब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब रुपैयाँले बढी हो ।
पछिल्ला वर्षमा आन्तरिक ऋणको हिस्सा बढ्दै गएको छ भने बाह्य ऋणको अंश क्रमशः घट्दै गएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा पनि उल्लेख छ । ‘गत फागुनसम्म सार्वजनिक ऋण दायित्वमा आन्तरिक ऋणको अनुपात ४८.६ प्रतिशत र बाह्य ऋणको अनुपात ५१.४ प्रतिशत छ,’ चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा भनिएको छ । पछिल्लो ५ वर्षमा सरकारको ऋण दोब्बर भएको सरकारी तथ्यांक छ । आव २०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब बराबर थियो ।
त्यसयता सार्वजनिक ऋण ०७५/७६ मा १० खर्ब ४८ अर्ब, ०७६/७७ मा १४ खर्ब ३३ अर्ब, ०७७/७८ मा १७ खर्ब ३७ अर्ब, ०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ । हरेक वर्ष ऋण बढेसँगै तिर्नुपर्ने सावाँ र ब्याज पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म सरकारले ८० अर्ब ९९ करोड सावाँ र ४० अर्ब ६८ करोड ब्याज भुक्तानी गरेको छ ।

अर्थ वाणिज्य

लम्पी स्किनका कारण रोपाइँ नै प्रभावित

- पोखरा ब्युरो


असार लागेसँगै धान रोपाइँको चटारो हुने पहाडी क्षेत्रमा यतिबेला बस्तुभाउमा लाग्ने लम्पी रोगले प्रभावित पारेको छ । उक्त रोगले जोत्ने गोरु नै बिरामी हुने, मर्ने भएपछि यस क्षेत्रको रोपाइँमा प्रत्यक्ष प्रभाव परेको हो । भौगोलिक कठिनाइका कारण पनि ट्र्याक्टर, हाते ट्र्याक्टर प्रयोग नगर्ने यस क्षेत्रका किसान यति बेला रोपाइँको अन्योलमा छन् ।
बागलुङको निसीखोला गाउँपालिका–५ का हीराबहादुर पुनले जेठ अन्तिम साता रोपिसक्ने खेत अहिलेसम्म रोप्न पाएका छैनन् । गाउँमा भएका गोरु बिरामी परेकाले समयमा रोपाइँ गर्न नपाएको उनको गुनासो छ । निसीखोला–२ का देवेन्द्र पौडेलको खेत पनि बाँझै छ । ‘गोरु नपाएकाले रोपाइँ अघि बढाउन सकिनँ,’ पौडेलले भने, ‘गाउँका अधिकांश गोरु बिरामी परेका छन् ।’ संक्रामक रूपमा फैलिएको लम्पी स्किन रोगबाट बागलुङका सयौं गाईगोरु बिरामी हुँदा रोपाइँमा असर परेको हो ।
पश्चिम बागलुङका अधिकांश स्थानमा पशुपालन गरिन्छ । घरघरै हलगोरु पालेका किसानले जोत्नका लागि मिनिटेलर राखेका छैनन् । ‘मिनिटेलर लैजानेजस्ता खेतबारी पनि छैनन्, त्यसैले गोरुकै भरमा छौं,’ ढोरपाटन नगरपालिका–९ का सूर्यबहादुर विकले भने, ‘बारी जोतिसक्नुपर्ने थियो, गोरु बिरामी परेकाले ढिला भइसक्यो ।’ पशु भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रका प्रमुख ऋषिराम सापकोटाका अनुसार बागलुङमा १ हजार १ सय गाई लम्पी स्किनका कारण बिरामी छन् । गोरु पनि अधिकांश बिरामी परेको उनले बताए । ‘दुधालु गाई बिरामी पर्दा बजारमा समेत असर परेकाले यकिन तथ्यांक निकाल्यौं, गोरुको तथ्यांक भने छैन,’ सापकोटाले भने, ‘तर अधिकांश गोरु पनि बिरामी छन् ।’ सामान्य संक्रमण भएका गोरुले पनि जोत्न नसकेको किसानले बताए ।
गोरखाको सहिद लखन गाउँपालिका–६ गैरीछापका सीताराम श्रेष्ठका हलगोरु भए पनि एउटा गोरु मंगलबार राति गोठमै मर्‍यो । सँगैको अर्को बिरामी गोरुको पनि अवस्था चिन्ताजनक छ । भन्छन्, ‘यस पटक रोपाइँ गरिएलाजस्तो छैन ।’ उनले रोपाइँका लागि १३ पाथी धानको ब्याड राखेका छन् । ‘बाँझो पनि जोत्न पाएको छैन, गोठका गोरु मरे, गाउँमा धेरैले गोरु पाल्दैनन् । भएका गोरु पनि सबै रोगाएका छन्, रोपाइँ कसरी गर्ने ?’ उनी उत्तरविहीन रहे । ‘दुई वर्षअघि २४ हजार हालेर किनेको गोरु दुई बाली लगाएर मर्‍यो, अर्को पनि मर्नु न बाँच्नु भएर बसेको छ,’ उनले भने, ‘गोठमा गोरु मरेको छ, रोपाइँ गर्नेतिर सोच नै गएको छैन ।’ लम्पी स्किनले गाउँभरिका गाई, गोरु, भैंसी बिरामी परेको उनले सुनाए । बढी मात्रामा गोरु संक्रमित भएका छन् । जोत्ने बेला गोरु बिरामी परेर थला परेपछि किसान भने कसरी रोपाइँ गर्ने भन्ने अन्योलमा छन् ।
मंगलबार मात्र बाँझो खेत जोतेर सक्नै लागेका सिरानचोक गाउँपालिका–२ खमारीका प्रेम थापा असार ११ पछि रोपाइँ सुरु गर्ने तयारीमा थिए । १० हल मेलोको खेत जोत्दाजोत्दै मंगलबार बिहान गोरु झोक्राउन थाल्यो । जोत्दाजोत्दैको गोरु फुकाएर जँचाउँदा लम्पी स्किन लागेको पाइयो । पशु चिकित्सकले गोरुलाई केही दिन घरमै राख्न र जोत्ने काममा तत्काल नलगाउन सुझाएका छन् । असारका बेला गोरु बिरामी परेपछि रोपाइँको तयारीमा रहेका थापा भने अलमलमा छन् । ‘धान रोप्न खेताला खोजिसकेको छु,’ उनले भने, ‘गोठको गोरु तत्काल बिसेक होलाजस्तो देखिँदैन ।’
७२ घर रहेको खमारीका २५ किसानले खेती बाली लगाउन गोरु पाल्दै आएका छन् । थापाका अनुसार अन्य किसानका गोरु पनि लम्पीले बिरामी परेका छन् । ‘अरूको खोजेर रोपाइँ गरौं भने पनि सबैका गोरु बिरामी परेका छन्,’ उनले भने, ‘बिरामी गोरुलाई दुःख दिन पनि भएन, बिसेक भयो भने साउनसम्म रोपे धान फल्छ भन्ने आशा छ ।’ गत वर्ष असारमै यहाँका किसानले धान रोपिसकेका थिए । गाउँपालिकाको पशु सेवा शाखा प्रमुख युवराज न्यौपोनले लम्पी स्किनबाट अधिकांश गोरु प्रभावित भएको बताए । उनले बिरामी गोरुलाई तत्काल जोत्नमा प्रयोग गर्न नमिल्ने जनाए ।
तनहुँको भानु नगरपालिका–५ का किसान दुलराज श्रेष्ठ लम्पी स्किनबाट गोरु मरेपछि खेत कसरी जोत्ने भन्ने चिन्तामा छन् । ‘२ महिना अगाडि ८ हजार हालेर गोरु किनेको थिएँ,’ उनले भने, ‘१५ दिन अगाडि गोरु नै मर्‍यो । अब कसरी जोत्ने भन्ने चिन्तामा छु ।’ खोलापारि खेत भएकाले ट्र्याक्टर लगाएर जोत्न पनि नमिल्ने उनले बताए । ‘रोपाइँ गर्ने समय भइसक्यो । खेत जोत्न मेलोमेसो पाएको छैन,’ उनले भने, ‘ट्र्याक्टरले जोत्न पनि सम्भव छैन । यो रोगले त हामी कृषकले ठूलो क्षति बेहोर्नुपरेको छ ।’ लम्पी स्किनबाट गोरुमा संक्रमण भएपछि खेतबारी जोत्न नपाइएको भानु–१२ की करुणा पण्डित बताउँछिन् । उनले भनिन्, ‘असार १० बाट रोपाइँ सुरु गर्ने तयारी थियो । घरको गोरु बिरामी भएर थला परेको छ । छिमेकीको गोरुको पनि हालत उही छ ।’ अघिल्ला वर्ष बाँझो रहेका खेतबारीमा पनि खेती गर्ने सोच बनाएकी करुणाले जोत्नका लागि एक हल गोरु पाउन पनि मुस्किल रहेको बताइन् । ‘खेत रोप्ने बेला भइसकेको छ । अघिल्ला वर्ष ४/५ हल गोरुले खेत जोतेका थियौं, अहिले एक हल पनि पाउन मुस्किल छ,’ उनले भनिन्, ‘कसरी जोत्ने भनेर समस्या परेको छ ।’
पर्वतमा पनि ग्रामीण किसानले खेती बाली लगाउन पाएका छैनन् । फलेवास र कुश्मा नगरपालिकासहित महाशिला, बिहादी, पैयुलगायत सबै गाउँपालिकाहरूमा लम्पीको महामारी नियन्त्रणबाहिर पुगिसकेको छ । कतिपय पालिकाले यो महामारी नियन्त्रणका लागि विशेष बजेट विनियोजन गरेर नियन्त्रणको अभियान सञ्चालन गरेका छन् भने कतिपय पालिकाले कुनै सहयोग नगरेको किसानको गुनासो छ । फलेवास–९ भंगराका विष्णु क्षत्रीले असारका बेला गोरु थलिएपछि किसानलाई त्योभन्दा पीडा के होला भन्ने बताए । ग्रामीण भिरालो खेतबारीमा रोपाइँ गर्ने किसानलाई लम्पी स्किनका कारण रोपाइँको चिन्ता छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–८ करापु पोखरीथोकका हर्कलाल विकले रोपाइँ तयारीका लागि खेत बाँझो मार्दामार्दै गोरु बिरामी पर्‍यो । सुन्दरबजार नगरपालिका–४ दुराडाँडा सिम्लेका लेखमान गुरुङको गोरु पनि अहिले बिरामी छ । ‘दुई हप्ताअघि एउटा बिरामी भयो । अहिले अर्को पनि बिरामी छ । गोरु बिरामी भएपछि बाँझो मार्ने कामै रोकिएको छ । रोपाइँको त सुरसारै छैन,’ उनले भने । उनका अनुसार गाउँका अन्यको पनि गोरु बिरामी पर्न थालेका छन् । ‘बिरामी गोरुलाई कसरी जोताउनु,’ उनले भने । मध्यनेपाल–९ बांग्रेका भरत रानाभाटले गाउँलेका प्रायः सबै गोरु बिरामी परेको बताए । उनका अनुसार २५–३० हलगोरु बिरामी भएका छन् । गोरु बिरामी पर्दा रोपाइँ गर्नुअघिको बाँझो जोत्ने कामसमेत हुन नसकेको उनले बताए ।
मध्यनेपाल नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक अमृतबाबु अधिकारीका अनुसार मध्यनेपालमा गाईगोरुमा लाग्ने लम्की स्किनको संक्रमण नियन्त्रण गर्न गाह्रो भइसकेको छ । ‘वैशाख पहिलो साताबाट यो समस्या देखियो । भ्याक्सिन लगाउन थालेपछि कन्ट्रोल भएको थियो । फेरि व्यापक देखिएको छ,’ उनले भने । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका डा. सुनील न्यौपानेका अनुसार लम्की स्किन संक्रमणबाट हालसम्म १४ वटा गाईगोरु मरेकामा १० वटा गोरु मात्रै छन् । ‘पहिले गाईमा संक्रमण थियो । पछिल्लो समय गोरुमा बढी संक्रमण देखिँदै आएको छ । गोरु बिरामी भएपछि बाँझो जोत्न र असारे रोपाइँ प्रभावित भएको छ,’ उनले भने ।

गण्डकीका ११ मध्ये मनाङबाहेक अन्य जिल्लामा गाईगोरु तथा भैंसीमा लम्पीको संक्रमण फैलिएको छ । गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी राजेशकुमार चौधरीका अनुसार जेठ मसान्तसम्म प्रदेशमा १९ हजार १ सय ६८ चौपाया लम्पीबाट संक्रमित भएका छन् । त्यसमध्ये ४ सय ५४ को मृत्यु भएको छ । हालसम्म २२ हजारभन्दा बढी गाईबस्तुलाई खोप लगाइएको छ । ‘लम्पीबाट मर्नेमा अधिकांश गोरु छन् । संक्रमितमा पनि गोरु नै बढी देखिएको छ,’ चौधरीले भने, ‘संक्रमित भएको गोरु निको हुन साता दिनदेखि एक महिनासम्म लाग्न सक्छ । यस्तो अवस्थामा गोरुलाई जोत्न लगाउनु भएन । किसानलाई समस्या परेको छ ।’ गाई–भैंसीमा ज्वरो आउने, तौल घट्ने, दूध उत्पादन घट्ने, छालामा १ देखि ५ सेन्टिमिटरसम्मको गोलाइका गिर्खा हुने लम्पीका मुख्य लक्षण हुन् । प्रदेशमा ३ देखि ७ प्रतिशत गाई–भैंसीमा संक्रमण रहेको र शून्य दशमलव ५ देखि १ प्रतिशतसम्म मृत्युदर रहेको छ । निर्देशनालयका अनुसार गण्डकीमा साढे ५ लाख गाईगोरु छन् । लामखुट्टेको टोकाइ, किर्ना र झिँगाबाट यो सर्छ । साथै कृत्रिम गर्भाधान, संक्रमित दानापानीको सेवन, संक्रमित उपचार औजारको प्रयोग, संक्रमित चौपाया ओसारपसारका कारण पनि यो सर्ने गर्छ । पुनका अनुसार संक्रमित गाई–भैंसीको दूध उत्पादनमा तीव्र गिरावट आउँछ । प्रजनन क्षमतामा पनि ह्रास आउन सक्छ । लम्पीको प्रभावकारी उपचार नभएकाले लाक्षणिक आधारमा उपचार गर्नुपर्छ ।
– प्रकाश बराल (बागलुङ), हरिराम उप्रेती (गोरखा), सम्झना रसाइली (तनहुँ), अगन्धर तिवारी (पर्वत) र आश गुरुङ (लमजुङ)

Page 10
अर्थ वाणिज्य

३ रुपैयाँमा पनि बिकेन बन्दा

- रमेशचन्द्र अधिकारी

(धनकुटा)
छथर जोरपाटी गाउँपालिका–२ का लाक्पा शेर्पालाई अघिल्लो वर्ष यसै सिजनमा बन्दाको बिक्री भ्याइनभ्याई थियो । बारीमै पुगेर व्यापारी मोलमोलाइमा थिए । तर यस वर्ष उनको बारीमा न व्यापारी पुगे, न बेच्न नै सकेका छन् । बरु तरकारी बारीमै कुहिने अवस्थामा छ । शेर्पाको जस्तै यस वर्ष अधिकांश कृषकको अवस्था उस्तै छ । गत वर्ष यही सिजनमा प्रतिकिलो २० रुपैयाँमा बेचेको बन्दा यस वर्ष ३ रुपैयाँमा पनि बिक्री हुन नसकेको कृषकको भनाइ छ । विगत वर्षमा नेपालका मुख्य बजारसहित भारतका विभिन्न प्रान्तसम्म यहाँको तरकारी पुग्थ्यो । बेमौसमी तरकारी उत्पादनमा अब्बल दह्रिएको यस क्षेत्रका कृषक यति बेला उत्पादित तरकारी नबिकेपछि चिन्तित छन् ।
बारीभरि कुहिएको तरकारी देखाउँदै शेर्पाले भने, ‘बीउको मूल्य पनि नउठ्ने भयो, यस्तो अवस्था कहिल्यै भोग्नुपरेको थिएन ।’ उनले १२ रोपनी क्षेत्रफलमा लगाएको ४० टन बन्दा बिक्री नभएपछि नष्ट भएको छ । मल, बीउसहित खेती गर्दाको अढाई लाख लागतसमेत डुबेको उनले बताए ।
यस क्षेत्रमा २०७४ मा केही समस्या भोगे पनि थोरै मूल्यमा भए पनि बिक्री गर्न सकेका थिए । कृषकले त्यो बेला यस वर्ष जस्तो बिक्री नै नहुने समस्या भोग्नु नपरेको बताउँछन् । स्थानीय पेम्दी शेर्पाको २२ रोपनी क्षेत्रफलमा लगाएको तरकारी पनि बिक्री भएन । यस्तै लाक्पा छेदी शेर्पाको ३२ रोपनी क्षेत्रफलमा लगाएको बन्दा कामै नलाग्ने गरी बिग्रिएको छ । स्थानीय पासाङ शेर्पाको पनि अवस्था उस्तै छ । स्थानीय कृषकले बन्दाको बीउ प्रतिग्राम १ हजार रुपैयाँमा खरिद गर्छन् । मल र श्रम सबै जोड्दा प्रतिकिलो कम्तीमा १५–२० रुपैयाँसम्ममा बेच्नुपर्छ । तर, ३ रुपैयाँमा पनि बिक्री नभएपछि मारमा परेको अगुवा कृषक प्रेम दर्लामीले बताए । १५ रोपनीमा लगाएको तरकारी बेचेरै अघिल्लो वर्ष ४ लाख रुपैयाँ कमाइ गरेका दर्लामीले यस वर्ष रित्तो हात भएको सुनाए । ‘हाम्रो पीडा सुन्ने कोही भएनन्,’ उनले भने, ‘यस वर्ष त लगानी नै डुब्यो ।’ स्थानीय देवकुमार लिम्बूको पनि समस्या उस्तै छ । उनी मार्गादेवी तरकारी सहकारी संस्थाका अध्यक्षसमेत हुन् । त्यहाँ यस वर्ष कुनै पनि कृषकले तरकारी संकलनका लागि ल्याएका छैनन् । सामान्यतः वार्षिक रूपमा २ देखि १० लाख रुपैयाँसम्म बेमौसमी तरकारी उत्पादनबाटै आम्दानी लिने अधिकांश कृषक रहेको उनले बताए ।
छथर जोरपाटीको सिधुवा कृषि सहकारी भण्डारका अध्यक्ष मेघेन्द्र गुरुङका अनुसार भारतका दार्जिलिङ, सिक्किमलगायतका क्षेत्रमा यस वर्ष तरकारी बढी उत्पादन भएकाले पनि यहाँको तरकारी निर्यात हुन कठिन भएको हो । उनले भने, ‘उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत हुनै सक्दैन ।’ जोगबनी र काँकडभिट्टा हुँदै भारतका खासगरी कोलकाता र असमलगायत मुख्य सहरसम्म यहाँको तरकारी पुग्छ । महालक्ष्मी नगरपालिका र छथर जोरपाटी क्षेत्रबाट मात्रै वार्षिक झन्डै ४० करोड बढीको कारोबार हुने गरेको गुरुङले बताए । सिधुवास्थित प्रधानमन्त्री कृषि परियोजनाका प्राविधिक सहायक कमला संग्रौलाले बन्दा बिक्री नभएको बताइन् । उनले नेपालको तुलनामा भारतमा तरकारीको मूल्य कम भएकाले निर्यात हुन कठिन भएको जनाइन् । यसबारे कृषि ज्ञान केन्द्र भने अनभिज्ञ छ ।

अर्थ वाणिज्य

माथिल्लो अरुणमा विश्व बैंकको ५० करोड डलर प्रतिबद्धता

- कमल धिताल

(काठमाडौं)
सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको १०६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैंकले ५० करोड डलर प्रतिबद्धता जनाएको छ । यस्तै बाँकी ५० करोड डलर ऋणका लागि स्रोत जुटाउन अग्रसरता लिने भएको छ । बाँकी लगानी जुटाउन अन्य दातृ निकाय ओपेक, एसियाली विकास बैंक, युरोपेली लगानी बैंक लगायतसमक्ष विश्व बैंकले नै अग्रसरता लिने भएको हो ।
माथिल्लो अरुणको लागि अर्थ मन्त्रालयमार्फत छलफल चलिरहेको र चाँडै टुंगोमा पुग्ने माथिल्लो अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका प्रबन्ध निर्देशक फनेन्द्रराज जोशीले जानकारी दिए । १७५० मिलियन अमेरिकी डलर (करिब २ खर्ब ३० अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुण आयोजनाको निर्माणको लगानी जुटाउन अर्थ मन्त्रालयले विश्व बैंक र अन्य दातृ निकायसँगको छलफललाई तीव्रता दिएको छ ।
विश्व बैंकको डिजाइनअनुसार आयोजनाको अध्ययन भइरहेको र मापदण्ड पूरा भएमा अन्य दातृ निकायहरू पनि सहमत हुने जोशीले बताए । विश्वै बैंकले सन् २०२४ जुनसम्ममा बोर्डबाट फाइनान्सियल क्लोजर गर्ने तालिका दिएको र २०२५ अप्रिलदेखि आयोजनाको बोलपत्र आह्वान गर्ने तालिका रहेको जोशीले बताए । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा निर्माण हुने माथिल्लो आयोजनामा नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने छ । आयोजना निर्माण गर्न स्थापना गरिएको अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनीमा प्राधिकरणको सबैभन्दा बढी सेयर स्वामित्व रहनेछ ।
३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण रहने आयोजनाका लागि करिब १ अर्ब डलर विदेशी निकाय र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी हुने जोशीले जनाए । कम्पनीले एचआईडीसीएलसँग गत भदौमा नै यससम्बन्धी सम्झौता गरिसकेको छ । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको १ हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनालाई ‘जनताको जलविद्युत् कार्यक्रम’ समेत राखेको थियो ।
माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको सबैभन्दा ठूलो आयोजना हो । विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने र आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना पनि अगाडि बढाएको छ ।
इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो । आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यसै वर्षदेखि अधिग्रहण र करिब २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यक पर्ने १ सय ८० हेक्टर जग्गामध्ये १ सय २० हेक्टर अधिग्रहण गर्नुपर्नेछ । आयोजनाबाट २५ घरपरिवार विस्थापित हुनेछन् । आयोजनाको निर्माणका लागि पूर्व चरणको कार्य सम्पन्न गरी २०८१ अन्तिममा आयोजना निर्माणमा जाने प्रबन्ध निर्देशक जोशीको भनाइ छ । उनले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई टेन्डर डिजाइन तथा निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता छनोट कार्य भइरहेको बताए ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


२५ हजारमाथिको सामसङ फोन किन्दा शून्य ब्याजमा कर्जा
काठमाडौं (कास)– सामसङले शून्य प्रतिशत ब्याजदरको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम ‘इन्स्टा फाइनान्स’ सुरु गरेको छ । अब २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजमा फाइनान्सिङ सुविधा पाउनेछन् । ग्राहक तथा खुद्रा व्यापारी दुवैले फाइनान्सिङ सुविधामा फोन खरिद गर्न सक्ने सामसङ नेपालले जनाएको छ । ‘ग्राहकले सामान्य प्रक्रियामा नै तत्काल कर्जा पाउन गर्न सक्छन्,’ कम्पनीले भनेको छ, ‘ग्राहकले ग्यारेन्टी बस्नेको सहित नागरिकता प्रमाणपत्र, फोटो तथा
आफ्नो आयस्रोत खुलेको पत्रसहित सेवा लिन सक्नेछन् ।’ कागजात प्रमाणीकरणपछि ग्राहकले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालका प्रमुख बजारका दुई सय वटाभन्दा धेरै सामसङ सोरुममा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

ई–सेवाको रकम अब एटीएमबाटै
काठमाडौं (कास)– भुक्तानी सेवा प्रदायक ई–सेवाका प्रयोगकर्ताले अबदेखि खातामा रहेको रकम एटीएममार्फत पनि सहजै झिक्न पाउने भएका छन् । ई–सेवाले हाल एभरेस्ट बैंकसँगको सहकार्यमा यो सेवाको सुरुवात गरेको हो । ‘एटीएमबाट ई–सेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन,’ ई–सेवाले भनेको छ, ‘प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्नेछन् ।’ यसअघि ई–सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्थ्यो । तर अबदेखि एटीएममार्फत पनि रकम झिक्न सकिने भएपछि प्रयोगकर्तालाई झनै सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए ।

Page 11
समाचार

अवकाशपछि आफैं विज्ञ हुने गरी शिक्षाका कर्मचारीले फेरे निर्देशिका

- सुदीप कैनी

(काठमाडौं)
शिक्षा सेवाबाट अवकाश प्राप्त निश्चित कर्मचारी र शिक्षकले मात्र विद्यालय स्रोत विज्ञको नियुक्तिसहित अधिकृतस्तरको जागिर पाउने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरेको छ । मन्त्रालयका कर्मचारीले अवकाशपछि आफैंले स्थानीय तहमा करारको जागिर पाउने गरी विद्यालय सुपरिवेक्षण तथा पेसागत सहायता निर्देशिका–२०८० बनाएका हुन् । निर्देशिका शिक्षामन्त्री अशोक राईले स्वीकृत गरी लागू गरेका छन् ।
२०८०/०८१ को बजेटमा ५ वर्षअघि खारेज १ हजार ५३ वटा विद्यालय स्रोत केन्द्रलाई नयाँ स्वरूपमा पुनःस्थापना गर्ने घोषणा गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा बजेट प्रस्तुत गर्दै शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण अवलोकन, नमुना शिक्षण, पुनर्ताजगीलगायत कार्यक्रम सञ्चालन गर्न स्रोत व्यक्ति खटाउने बताएका थिए । संसद्बाट बजेट पास नहुँदै शिक्षा मन्त्रालयले त्यससम्बन्धी निर्देशिका जारी गरेर शिक्षा सेवाबाट अवकाश प्राप्त व्यक्तिले मात्र स्रोत केन्द्रमा जागिर पाउने व्यवस्था गरेको हो । पाँच वर्ष अघिसम्म बहालवाला शिक्षकलाई स्रोत व्यक्ति नियुक्ति गरेर विद्यालयको अनुगमन, नियमन खटाइन्थ्यो ।
निर्देशिका स्थानीय तहले पालना गरे प्रतिस्पर्धाबाट स्रोत विज्ञ नियुक्ति गर्ने भनिए पनि त्यसका व्यवस्थाभित्र अवकाश प्राप्त व्यक्तिबाहेक अन्यले अवसर नपाउने निश्चित छ । पूर्वप्राध्यापक लक्ष्मण शर्माले ५८ वर्षमा अवकाश हुने शिक्षा सेवाका कर्मचारी र ६० वर्षमा अवकाश हुने शिक्षकलाई जागिर दिने गरी निर्देशिका जारी गरिएको जनाए । निर्देशिकामा २१ देखि ६५ वर्षको व्यक्ति प्रतिस्पर्धाका लागि उम्मेदवार हुन पाउने उल्लेख छ । तर, त्यसका लागि शिक्षा सेवामा अधिकृतस्तरको पदमा कम्तीमा दस वर्ष सेवा गरेको वा माध्यमिक शिक्षकको स्थायी पदमा कम्तीमा दस वर्ष अनुभव हासिल गरेको हुनुपर्छ ।
निर्देशिकाअनुसार अनुभवबापत प्रतिस्पर्धीले सोझै २० नम्बर पाउँछन् । एक सय पूर्णाङ्कमा हुने छनोट विधिमा अनुभवको अंक छनोट समितिले घटाउन पाउँदैन । तर, प्रस्तावना लेखन प्रस्तुतीकरण, नेतृत्व सीप, समूह छलफल, समस्या समाधान सीप, अन्तर्वार्तामा उत्कृष्ट प्रस्तुति गरे पनि ७० प्रतिशतभन्दा बढी अंक दिनुपरे आधार, कारण र पुस्ट्याइँसमेत उल्लेख गर्नुपर्नेछ । प्रस्तावनामा १५, प्रस्तुतीकरण १०, शैक्षिक योग्यता १०, नेतृत्व सीप १०, कार्य अनुभव २०, समूह छलफल ५, समस्या समाधान सीप १० र अन्तर्वार्तामा २० पूर्णाङ्क छुट्याइएको छ । क्षमता, योग्यता भए पनि अनुभव नभएका कारण नयाँ पुस्ताले अवसर नपाउने भन्दै निर्देशिकाको आलोचना भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्षसमेत रहेका शर्माले अवकाशपछि पनि जागिरको सुनिश्चितता हुने गरी मन्त्रालयबाट निर्देशिका जारी गरिएको बताए । ‘विद्यालयको निरीक्षण, सुपरिवेक्षण गर्ने काम कर्मचारीको होइन, यो काम त प्राध्यापकले पो गर्न सक्छन्,’ उनले भने, ‘विद्यालयमा शासक ब्युरोक्रेट चाहिएको होइन, शिक्षकलाई जुरुक्क उचाल्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक छ ।’ शिक्षक छनोट गर्ने शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धाका आधारमा स्रोत विज्ञ चयन गर्न उपयुक्त हुने उनले सुझाए । ‘एक जना शिक्षक छान्दा एउटा विषयको मात्र छानिन्छ, सरकारले विज्ञको एउटा रोस्टर नै बनाएर गर्नुपर्ने हो,’ उनले भने, ‘प्रशासक नियुक्ति गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनै सक्दैन, उनीहरूको काम त शिक्षकलाई दबाउने मात्र हुन्छ ।’ पाँच वर्षअघि स्रोत केन्द्र हटाउने र अहिले राख्ने बेलामा समेत शिक्षा प्रशासनका कर्मचारीले विवादास्पद भूमिका देखाएको उनको ठम्याइ छ । ‘स्थानीय सरकारलाई विज्ञ चाहिएको छ तर अवकाश प्राप्तलाई त्यो जिम्मेवारी दिने निर्देशिका उपयुक्त छैन,’ उनले भने ।
शिक्षा ऐन २०२८ को दफा १९ को अधिकार प्रयोग गरेर निर्देशिका जारी भएको मन्त्रालयले जनाएको छ । अधिकृत द्वितीयस्तरको तलब सुविधा विज्ञलाई दिनुपर्ने उल्लेख छ । तर, पारिश्रमिक स्थानीय तहले आफैंले व्यवस्था गर्नुपर्नेछ । प्रत्येक स्थानीय तहमा कम्तीमा एक जना स्रोत व्यक्ति नियुक्ति गर्न लागिएको हो । ३० भन्दा बढी सामुदायिक विद्यालय रहेका पालिकाले भने अर्को स्रोत व्यक्ति पनि नियुक्ति गर्न सक्ने निर्देशिकामा उल्लेख छ । यस हिसाबले देशभर करिब १ हजार विज्ञ नियुक्ति हुनेछन् । करारमा विज्ञ नियुक्ति गर्न शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, पालिका प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र माध्यमिक तहका वरिष्ठतम शिक्षक सम्मिलित ३ सदस्य रहेको छनोट समिति रहने व्यवस्था गरिएको छ । विज्ञको शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । जसले शिक्षा संकायमा स्नातक वा १० महिने सेवाकालीन तालिम लिएको अनिवार्य हुनुपर्दछ ।
अनुभवी व्यक्तिलाई विद्यालयको अनुगमन, नियमनमा खटाएर गुणस्तर सुधार गर्न यस्ता प्रावधान राखिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । ‘यो पेसागत सहयोग गर्ने विषय हो, अनुभवी मान्छेले मात्र सुपरिवेक्षण गरोस् भन्ने हो, अन्य क्षेत्रमा ६५ वर्षसम्म काम गरिरहेका छन्,’ उनले भने, ‘सबै कर्मचारी आउँदैनन्, अवकाश पाएका शिक्षक नै धेरै आउन भनेर हेरिएको हो ।’ विज्ञले नगर, गाउँ शिक्षा समिति, शिक्षा शाखा, इकाईप्रति उत्तरदायी भएर काम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
महिनामा कम्तीमा १० विद्यालयको निरीक्षक गर्नुपर्ने तोकिएको छ । मन्त्रालयले नयाँ निर्देशिका जारीपछि स्रोतव्यक्ति व्यवस्थापन निर्देशिका २०७१ खारेज गरेको छ ।
माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा विद्यालय स्रोत केन्द्र खारेजीमा परेका थिए । केन्द्र खारेज हुँदा विद्यालय शिक्षाको नियमन र अनुगमन हुन नसकेको गुनासो बढ्दो छ । तर माध्यमिक शिक्षाको अधिकार स्थानीय तहमा रहेका बेला संघ सरकारको स्रोत केन्द्र पुनःस्थापना गर्ने घोषणाले दुविधा उत्पन्न भएको थियो । पछिल्लो समय कतिपय पालिकाले स्रोत व्यक्ति नियुक्ति गरेर विद्यालयको रेखदेखमा परिचालन गरेका छन् । शिक्षाकर्मी अभिषेक घिमिरेले नयाँ निर्देशिका जारी गरेर अवकाश प्राप्त कर्मचारीलाई फेरि जागिर खुवाउने प्रपञ्च गरिएको आरोप लगाए । ‘सुधार गर्नेले हिजो सेवाकालीन अवस्थामा गरिहाल्थे नि,’ उनले भने ।

समाचार

उपप्राध्यापक चलाउने सर्वोच्चमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उपप्राध्यापक प्रेमबहादुर चलाउने निवेदन लिएर सर्वोच्च अदालत गएका छन् । उनको निवेदन बुधबार दर्ता भएको र बिहीबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
चलाउनेमाथि भएको आक्रमणको मुद्दा सरकारले गत जेठ ३० मा फिर्ता लिने निर्णय गरेको थियो । सरकारी निर्णय कानुनसम्मत नभएको र आरोपितहरूको संरक्षण गर्न खोजिएको भन्दै चलाउनेले निर्णय खारेजीको माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउने सरकारको निर्णयपछि सोमबारदेखि कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा अनशन बसेका छन् ।
उनलाई ३ वर्षअघि त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए । आक्रमणमा संलग्न हरि आचार्य, योगेन्द्र रावललगायत ७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । धरौटीमा छुटेका आरोपितलाई उन्मुक्ति दिने गरी सरकारले मुद्दा फिर्ताको निर्णय लिएको छ । तर, सरकारको निर्णयको जिल्ला अदालतमा सुनुवाइ भएको छैन । सरकारको निर्णयसहितको निवेदन अर्को पेसीमा पेस गर्न न्यायाधीशले आदेश दिएका छन् ।
सरकारको निर्णयको प्राध्यापक, विद्यार्थी, नागरिक समाज र सर्वसाधारणले विरोध गर्दै आएका छन् । प्रतिपक्षी एमालेले चलाउनेको मागमा ऐक्यबद्धता जनाएको छ । बुधबारको संसद् बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले न्यायको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए ।
पूर्वउपकुलपतिहरूले पनि चलाउनेको अनशनमा ऐक्यबद्धता जनाएका छन् । केदारभक्त माथेमासहित ९ पूर्वउपकुलपतिले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाभित्र अपराधलाई प्रोत्साहन हुने गरी सरकारले गरेको निर्णय अमर्यादित एवं गैरजिम्मेवार भएको भन्दै त्यसको भर्त्सना गरेका छन् । ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित, आपराधिक कार्यलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाती भएको देखिन्छ । मुद्दा फिर्ता लिने निर्णय तुरुन्त फिर्ता लिइयोस्,’ विज्ञप्तिमा भनिएको छ । पूर्वउपकुलपति माथेमा, अर्जुन कार्की, कमलकृष्ण जोशी, त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई, तोरणबहादुर कार्की, नवीनप्रकाशजंग शाह, महेशकुमार उपाध्याय र हीराबहादुर महर्जनले संयुक्त विज्ञप्ति जारी गर्दै मुद्दा फिर्ताको विरोध गरेका हुन् ।
यस्तै, प्राध्यापक डा. गोविन्द केसीले सरकारको निर्णय अनैतिक, लज्जास्पद र अमानवीय भएको जनाएका छन् ।

Page 12
खेलकुद

'अब कोहीसँग डराएर खेल्नुपर्दैन’

- हिमेश

(बेंगलुरु)
नेपालले पहिलो हाफ सुतेर खेलेजस्तै थियो भने दोस्रो हाफ भने ब्युँझिएर खेलेजस्तै भयो । पहिलो हाफको खेल दोहोर्‍याउने हो भने नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कहिल्यै राम्रो गर्न सक्ने छैन । तर होइन, दोस्रो हाफमा जस्तै खेल्ने हो भने कुवेत जत्तिको टिमलाई त दबाबमा राख्न सक्छ भने अरूको के कुरा ? साफ च्याम्पियनसिप २०२३ मा नेपाल बुधबार कुवेतको हातबाट कान्तिभरा रंगशालामा ३–१ ले पराजित रह्यो, त्यसै खेलको दोस्रो हाफको विश्लेषण गर्दै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भने, ‘नेपालले अब कोहीसँग डराएर खेल्नुपर्दैन ।’
उनले के माने भने पहिलो हाफमा नेपाली खेलाडीले केही डराएर खेले । विशेषतः नेपालको रक्षापंक्ति फितलो
रह्यो । त्यसैले नेपालले पहिलो हाफमा दुई गोल खायो, दुवै नमीठो अवसरमा । दोस्रो हाफमा प्रशिक्षक एनिसले एक महत्त्वपूर्ण परिवर्तन गरे । नवयुग श्रेष्ठलाई निकालेर आयुष घलानलाई मैदानमा उतारे । अनि ‘हाफटाइम ब्रेक’ मा टिमलाई निर्देशन दिए, आक्रामक भएर खेल्नु । यसको नतिजास्वरुप खेलको दोस्रो ४५ मिनेटमा नेपालले कुवेतमाथि दबाब सिर्जना
गर्न सक्नु ।
प्रशिक्षक एनिसले थपे, ‘म आक्रामक खेल मन पराउने हुँ ।’ उनको आशय थियो, अब नेपालले कम्तीमा प्रतियोगिताका बाँकी दुई खेलमा आक्रामक भएर खेल्नुपर्नेछ । नेपालले अब शनिबार आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछ । त्यसपछि मंगलबार लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ । साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा फाइनल खेलेको नेपालका लागि अब यसपल्टको सेमिफाइनल समीकरण कठिन भएको छ ।
नेपाली टिमले गरेको प्रदर्शनको विश्लेषण गर्दै कुवेतका मुख्य प्रशिक्षकका रुइ बेन्टोले प्रशंसामा केही शब्द खर्चिर्ए । पोर्चुगाली फुटबलका लेजेन्डरी प्रशिक्षक बेन्टोले भने, ‘मैले फुटबलमा सिकेको एउटा पाठ के हो भने प्रत्येक प्रतिद्वन्द्वीको सम्मान गर्नुपर्छ । नेपाली टिमप्रति मलाई उच्च सम्मान छ । नेपाली टिम संगठित छ र भावना पनि राम्रो छ । दोस्रो हाफमा नेपालको प्रदर्शनले हामीलाई केही गाह्रो भयो । त्यही प्रदर्शनका कारण हाम्रा खेलाडीले केही भुल गरे ।’

हारमा दुई उपलब्धि
कुवेतले पहिलो हाफमा गरेका दुवै गोल नेपालको कमजोर रक्षापंक्तिकै कारण सम्भव भएको थियो । खलिद हाजियाले २३ औं मिनेटमा पहिलो गोल गरे । अनमार्क छाडिएका हाजियाले पोस्ट नजिकबाट सजिलै हेड गरेर बललाई पोस्टको दिशा दिए । त्यसपछि ४१ औं मिनेटमा सबायब अलखल्दीले दोस्रो गोल थपे । तेस्रो गोल भने पेनाल्टीबाट भयो । यसमा मोहम्मद अब्दुल्लाहले गोल गरे । अनन्त तामाङले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि कुवेतले पेनाल्टी अवसर पायो ।
खेलको ३६ औं मिनेटमा अब्दुल्लाहको हेड पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफको सुरुमै अञ्जन विष्टको क्रसमा सनिश श्रेष्ठको हेड पोस्टको केही दुरीबाट बाहिरियो । प्रशिक्षक एनिसले आफ्नो टिमको रक्षापंक्तिमाथि धेरै दोष दिन चाहेनन् । हारका बावजुत यो खेल दुई कारणका लागि सम्झनालायक रहनेछ । पहिलो रह्यो, अनन्तले नेपालका लागि जितेको ५० औं ‘क्याप’ । सन् २०१५ मा अनन्तले भारतविरुद्ध पुनेमा भएको मैत्रीपूर्ण खेलमा डेब्यु अवसर पाएका थिए ।
अहिले ५० खेलको उपलब्धिमा उनले खुसी व्यक्त गरे । उनले भने, ‘नेपालका लागि खेल्नु नै ठूलो थियो । त्यसमाथि आज ५० औं खेल खेलिरहेको छु । त्यसैले म खुसी छु, यसमा गर्व गर्छु । नेपालका लागि लामो समय खेल्ने मेरो योजना छ । यसमा मेरो फिटनेसले पनि ठूलो भूमिका खेल्नेछ ।’
खुसीको दोस्रो कारण भने अञ्जन विष्ट रहे । खेलको दोस्रो हाफमा नेपालले रचेको बलियो पुनरागमनका क्रममा अञ्जन एक गोल गर्न सफल रहे । यससँगै उनी नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान नजिक पुगेका छन् । यो उनको १२ औं गोल हो । अब उनी कीर्तिमानबाट एकै गोलमात्र टाढा छन् । नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान हरि
खड्का र नीराजन रायमाझीको नाममा छ । उनीहरू दुवैले समान १३ गोल
गरेका छन् । अञ्जनले ६७ औं मिनेटमा कुवेती रक्षापंक्तिको भुलको फाइदा उठाउँदै गोल गरेका हुन् । नेपालका लागि ५४ औं खेल खेल्दै अञ्जनले व्यक्तिगत दर्जन गोलसंख्या छोएका हुन् । प्रशिक्षक एनिसले अञ्जनको प्रशंसा गर्न बिर्सेनन् । उनले अञ्जन नेपालको प्राकृतिक नेतृत्वकारी रहेको सुनाए ।

सुनीलको ह्याट्रिक
आयोजक भारतले पनि बुधबारको खेलबाट विजयी सुरुआत गर्‍यो । टोलीले पाकिस्तानलाई ४–० ले सजिलै हराएको हो । खेलको अघिल्लो रातमात्रै पाकिस्तानी टिम भारत आइपुगेको थियो । टोलीले आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेन । भारतको जितका नायक रहे कप्तान सुनील क्षेत्री । खेलमा उनले ह्याट्रिक गरे । यसमा दुई गोल पेनाल्टीबाट सम्भव भएको थियो । सुनिलले दसौं मिनेटमा पहिलो गोल गरे । त्यसपछि दोस्रो गोल पेनाल्टीबाट १६ औं मिनेटमा सम्भव भयो भने तेस्रो गोल पनि पेनाल्टीमा ७४ औं मिनेटमा गरेका थिए ।
यससँगै उनले भारतका लागि गरेको गोल संख्या ९० पुगेको छ । अहिले सक्रिय खेलाडीमध्ये उनी सर्वाधिक गोल गर्ने सूचीको तेस्रो स्थानमा कायम छन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीपछि । भारतका लागि चौथो गोल भने ८० औं मिनेटमा सब्स्टिच्युट उदान्त सिंहले गरे । दुई छिमेकी प्रतिद्वन्द्वीबीचको खेल पहिलो हाफको इन्ज्युरी समयमा तनावग्रस्त रह्यो । पाकिस्तानी खेलाडी अब्दुल्ला इकबालले थ्रो गर्न लाग्दा त्यसमा व्यवधान पुर्‍याउने काम भारतीय इगोर स्टिम्याकले गरे । नेपाली रेफ्री प्रज्ज्वल क्षेत्रीले स्टिकम्याकलाई रातो कार्ड देखाएका थिए ।

नेपाली टिम
किरण लिम्बु, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, पुजन उपरकोटी (नवीन लामा–६६), एरिक विष्ट, लाकेन लिम्बु (आभाष लामिछाने–८३), अञ्जन विष्ट, नवयुग श्रेष्ठ (आयुष घलान–४६), मनीष डाँगी (आशिष चौधरी–७३) ।

खेलकुद

मछिन्द्रले पारोविरुद्ध खेल्ने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मछिन्द्रले एएफसी कप २०२३ प्लेअफ छनोटको प्रारम्भिक चरणमा भुटान प्रिमियर लिग च्याम्पियन पारो एफसीविरुद्ध खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) द्वारा जारी गरिएको ‘ड्र’ अनुसार मछिन्द्रले पारोविरुद्ध अगस्ट ८ मा प्रतिस्पर्धा गर्ने छ । फिफा वरीयतामा अगाडि रहेको देशले खेल आयोजना गर्न पाउने नियमानुसार मछिन्द्रले फेरि घरेलु मैदानमा खेल्ने अवसर पाउने छ । मछिन्द्रले पहिलोपल्ट एएफसी कपको छनोट गत सिजन खेलेको थियो । तर, दशरथ रंगशालामा श्रीलंकाको ब्लु स्टारविरुद्ध २–१ ले हारेपछि मछिन्द्रको महादेशीय प्रतियोगिताको डेब्यु प्रारम्भिक चरणमै टुंगिएको थियो ।
यसपालि सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा नगरेपछि उपविजेता भए पनि मछिन्द्रले एएफसी कपमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएको हो । चर्च ब्वाइजले डेब्युमै ‘ए’ डिभिजन लिगको उपाधि जित्नुअघि लगातार दुई सिजन मछिन्द्र च्याम्पियन भएको थियो ।
मछिन्द्रले पारोलाई पराजित गर्न सके प्रारम्भिक चरणको दोस्रो खेलमा इन्डियन सुपर लिग क्लब मोहन बगानविरुद्ध अगस्ट १५ मा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । त्यसैले प्रारम्भिक चरणमा दुई खेल जितेपछि मात्रै मछिन्द्र प्लेअफमा पुग्न सक्छ । दक्षिण एसियाबाट प्लेअफमा सफलता हात पार्ने एक टिमले एएफसी कप २०२३ को समूह चरणमा स्थान पाउने छ ।
एएफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको नेपालको एक्लो टिम मनाङ मर्स्याङ्दी हो । मनाङले सन् २०१९ को एएफसी कपको समूह चरणमा अबहानी लिमिटेड (बंगलादेश), चेन्नई एफसी (भारत) र मिनेरवा पन्जाव (भारत) विरुद्ध होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गरेको थियो । तर, मनाङ समूहको अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

खेलकुद

वेस्ट इन्डिजबारे जानकार नेपाल

- विनोद पाण्डे

(काठमाडौं)
विश्वकप छनोट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध बिहीबार हुने खेल नेपालको एकदिवसीय मान्यताप्राप्त भएयता टेस्ट राष्ट्रसँगको केवल दोस्रो खेल हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजसँग पहिलोपल्ट खेल्न लागे पनि नेपाल विपक्षी टोलीबारे पूरा जानकार छ ।
सन् २०२३ को सुरुआतमा मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले उच्च प्रदर्शन गर्दै आएको छ । भारतीय प्रशिक्षक देसाई यहाँ आउनुअघि वेस्ट इन्डिजकै ब्याटिङ प्रशिक्षक थिए । फिल सिमोन्स वेस्ट इन्डिजको प्रमुख प्रशिक्षक रहेको समयमा देसाईले दुई वर्ष ब्याटिङ प्रशिक्षकको भूमिका निभाएका थिए । डिसेम्बर अन्त्यमा वेस्ट इन्डिजसँगको सम्झौता सकिएपछि उनी नेपालको प्रशिक्षक बन्न काठमाडौं ओर्लिएका थिए ।
देसाईले छाडेयता वेस्ट इन्डिजको प्रशिक्षण टोलीमा धेरै परिवर्तन आइसकेको छ । सिमोन्सको स्थानमा वेस्ट इन्डिजलाई दुई पटक ट्वान्टी–२० विश्वकप जिताएका डारेन सामीले मुख्य प्रशिक्षकको जिम्मा लिइसकेका छन् भने आफ्नो समयका सदाबहार अलराउन्डर कार्ल हुपरलाई सहायक प्रशिक्षकमा ल्याएका छन् ।
तर, वेस्ट इन्डिजका वर्तमान खेलाडीहरूबारे देसाई पूर्ण रूपमा जानकार छन् । जिम्बावेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई ‘मोन्टी फ्याक्टर’ निकै महत्त्वपूर्ण हुनेछ । ‘हामी रोमाञ्चक यात्रामा छौं र आफ्नो कथा आफैं बुनिरहेका छौं, जसरी हामीले तयारी गरिरहेका छौं, त्यसअनुसार हरेक खेलका लागि तयार छौं,’ देसाईले आईसीसीको टिभीसँग भनेका थिए ।
एक समय विश्व क्रिकेटको ‘पावर हाउस’ वेस्ट इन्डिज लगातार दोस्रो पटक विश्वकप छनोटमै खेलिरहेको छ । एकदिवसीय वरीयतामा बंगलादेश र अफगानिस्तानभन्दा पछाडि रहेपछि वेस्ट इन्डिज यो प्रतियोगिता खेल्न बाध्य भएको हो । वेस्ट इन्डिजका सहायक प्रशिक्षक हुपरले आफ्नो टोलीले छनोट प्रतियोगिता खेल्नुपर्छ भनेर विगतमा कहिल्यै नसोचेको जनाउँदै एएफपीसँग भनेका छन्, ‘मैले अरू टिमलाई सम्मान
गर्न नखोजेको होइन । तर हामी अमेरिका, नेपाल, स्कटल्यान्डसहितका राष्ट्रसँग खेल्न गइरहेका छौं ।’
हरारेमा प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो, जुन खेल नेपालको टेस्ट राष्ट्रसँग पहिलो खेल पनि थियो । नेपाल उक्त खेलमा ८ विकेटले पराजित भए पनि त्यसपछि अर्को खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरी विजय यात्रामा फर्किएको छ । नेपालले पछिल्ला २० प्रतियोगितात्मक खेलमा १६ मा विजय हात पारेको छ भने २ खेलमा हार बेहोरेको छ ।
देसाई आउनुअघि नेपाल विश्वकप लिग २ को पुछारबाट दोस्रो स्थानमा थियो । तर, १२ मध्ये ११ खेल जित्दै नेपाल लिग २ मा तेस्रो भएर सिधै विश्वकप छनोट खेल्न जिम्बावे पुगेको हो । त्यसपछिको एसीसी प्रिमियर कपमा पनि नेपाल अपराजित रहँदै एसिया कपका लागि छनोट भएको थियो । त्यसक्रममा नेपालले ओमान, यूएईको चुनौती पन्छाएको थियो । जिम्बावेसँग २ सय ९० रन बनाए पनि नेपाल ४५ ओभरभित्र खेल हार्न पुगेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा २ सय ९७ रन बनाउँदै अमेरिकासँगको खेल ३९ रनले जितेको थियो । वेस्ट इन्डिजबाट अमेरिकाविरुद्ध जोहान्सन चार्ल्स (६६), कप्तान साई होप (५४), रोस्टन चेज (५५) र पूर्व कप्तान जेसन होल्डर (५६) ले अर्धशतक बनाएका थिए । अर्का पूर्व कप्तान निकोलस पुरनले ४३ रन जोडेका थिए ।
बिहानी सत्रमा नयाँ बलबाट हुने खतरालाई लिएर उनी चिन्तित छन् । त्यसैले उनले आफ्नो ब्याटरबाट थप बलियो प्रदर्शनको माग गरेका छन् । अमेरिकासँगको पहिलो पावर प्लेमा वेस्ट इन्डिजले ४१ रनमात्र बनाउन सकेको थियो भने दुवै ओपनर ब्रेन्डन किङ र केयल मेयर्सलाई गुमाएको थियो । ‘नेपाल माथि आइरहेको टिम हो र उसले राम्रो खेल्दै आइरहेको छ । हामी सबै प्रतिद्वन्द्वीको सम्मान गर्छौं,’ सामीले क्रिकइन्फोमा भनेका छन्, ‘तर, हामी एउटा टिमको रूपमा खेल्न चाहन्छौं र आफ्नो पहिचानअनुरुपको क्रिकेट खेल्न केन्द्रित छौं ।’
बलिङमा वेस्ट इन्डिज तीव्र गतिका बलरले भरिएको छ । किमो पाल, होल्डर, मेयर्स र अल्जारी जोसेफको तीव्र बलिङ नेपालका लागि चुनौती हुनसक्छ । जिम्बावेसँगको पहिलो खेलमा चोट लागेका नेपालका मध्यम गतिका बलर सोमपाल कामीले समूह चरणको खेल गुमाउने भइसकेका छन् । अर्का तीव्र गतिका बलर करण केसीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि नेपालले अमेरिकालाई २ सय ७ रनमा अलआउट गरेको थियो ।
जिम्बावे जानुअघि नै वेस्ट इन्डिजसँग खेल्ने प्रसंगलाई लिएर नेपाली टोली निकै उत्साहित रहेको कप्तान रोहित पौडेलले जनाएका थिए । होल्डर, जोसेफको बलिङको कसरी सामना गर्ने भनेर आफूहरूले विशेष रणनीति बनाइरहेको रोहित सुनाइरहन्थे । वेस्ट इन्डिजसँग नेपालका प्रशिक्षक देसाईको रणनीति कस्तो होला त ? सम्भवतः वेस्ट इन्डिजका लागि पनि चासोको विषय यही नै होला ।

 

खेलकुद

एपेक्स कलेज क्रिकेट भदौमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– एपेक्स इन्टर कलेज क्रिकेट कप प्रतियोगिता हुने भएको छ । एपेक्स कलेजको आयोजनामा मूलपानीको तल्लो क्रिकेट मैदानमा भदौ २४ देखि असोज ३ सम्म हुने स्पर्धामा १२ कलेजले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
सहभागी कलेजको अन्तिम निर्णय हुन बाँकी रहेको जनाइएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष २ टोली क्वाटरफाइनल पुग्नेछन् । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्लेयर अफ द सिरिजले १५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही १० हजार बराबरको क्रिकेट किट पाउनेछन् । प्रत्येक प्लेयर अफ द म्याचले २ हजार ५ सय बराबरको किट पाउनेछन् ।
प्रतियोगिता एपेक्स कलेजका विद्यार्थीको पहल हुन लागेको एपेक्सका हेड अफ स्ट्राटेजी सन्देश कटुवालले बताए । ‘एपेक्स कलेजले आफ्ना विद्यार्थीलाई प्रोत्साहन गर्न र हौस्याउन यो प्रतियोगिता आयोजना गरिरहेको छ,’ कटुवालले भने, ‘व्यवस्थापनको पनि कलेज भएकाले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी हामीले विद्यार्थीलाई दिएका छौं । बिजिनेस कलेजमा एपेक्स एउटा उदाहरण हो, त्यही भएर हामी विद्यार्थीलाई जिम्मेवारी दिएर उनीहरूलाई आफ्नो भूमिका बोध गराउँछौं ।’
लामो समयदेखि कलेजस्तरीय प्रतियोगिता हुन नसकेको तथा खेलाडीहरूले स्तरीय प्रतियोगिता खेल्न पाउन भन्ने उद्देश्यले पनि प्रतियोगिता गरिएको उनले बताए । प्रतियोगितामा खेल्ने खेलाडीहरू सोही कलेजको हुनुपर्नेछ भने नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा यू–१९ वा सोभन्दा माथि खेलिसकेका खेलाडीले प्रतियोगितामा खेल्न नपाउने प्राविधिक समितिका संयोजक एवं अम्पायर रवीन्द्र
गुप्ताले जनाए ।
प्रोजेक्ट म्यानेजर अस्मिता पौडेलले सहभागी सबै कलेजलाई आयोजकले जर्सी प्रदान बताइन् । उनले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने योजना सुनाइन् ।

खेलकुद

पब्जी टिम मकाउतिर

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाली पब्जी मोबाइल र एओभी (एरिना अफ भेलोर) टिमले १९ औं एसियाली खेलकुदको वरीयताका लागि मकाउमा हुने प्रतियोगिता खेल्ने भएको छ । पब्जी टिम बुधबार मकाउ गएको छ भने एओभी टिम शनिबार जानेछ । टोलीका खेलाडी सुविनकुमार प्रजापति, दीपेश गुरुङ, साहस भण्डारी, समीर गुरुङ र संगीन भट्टराई छन् । असार ८–११ सम्म प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


स्क्वासको एसियाड छनोट
काठमाडौं (कास)– नेपाल स्क्वास एन्ड राकेट्स सघले बुधबार १९ औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ३–३ पुरुष/महिला खेलाडी छनोट भएको संघले जनाएको छ । पुरुषतर्फ अरहन्तकेशर सिंह, अमृत थापामगर र अमिर ब्लोन तथा महिलातर्फ विफना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट भएका छन् । असोज ६ देखि हुने एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षकमा हीराबहादुर थापा र म्यानेजरमा किशोर महर्जन रहनेछन् ।
छैटौं राष्ट्रिय स्केटबोर्ड हुने
काठमाडौं (कास)– नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताको पुरुषमा १ सय ५० पुरुष र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले बुधबार पत्रकार सम्मेलनमा बताए ।फाइनल नाथम कलेजमा हुनेछ । शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट स्पर्धा हुनेछ । छनोटबाट १०–१० पुरुष/महिला खेलाडी फाइनल चरणलाई छानिनेछन् । पुरुष/महिलामा १/१ गरी २ स्पर्धामा खेल हुनेछ । दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले बताए । दुवै समूमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेस्रो पटक हो । बाँकी तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो ।
गोल्डेनगेट र ग्रान्ड विजयी
काठमाडौं (कास)– गोल्डेनगेट कलेज र ग्रान्ड स्पोर्ट्स सेन्टरले पीसीपीएस कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । गोल्डेनगेट ब्वाइज र ग्रान्डले गर्ल्सको उपाधि जिते । आयोजक पाटन कलेज फर प्रोफेसनल स्टडिजको कोर्टमा भएको फाइनलमा गोल्डेनगेटले द इन्साइट भिजन कलेजलाई २१–१३ स्कोरले हरायो । विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाए । गर्ल्सको उपाधि भिडन्तमा ग्रान्डले बलर्स एकेडेमीलाई १०–६ ले हरायो । ग्रान्डले १५ हजार र बलर्सले १० हजार पुरस्कार पाए । विजेतालाई ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य, लर्डबुद्ध एजुकेसन फाउन्डेशनका पंकज जलान र आयोजकका चिफ अपरेटिङ अफिसर सुनन्द रेग्मीलगायतले
पुरस्कृत गरे ।