You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

पढाइबाट परै राउटे बालबालिका

- ज्योति कटुवाल

(दैलेख)
महाबु गाउँपालिका–२ किटुलामा बस्दै आएका १२ वर्षीय धुरे शाहीलाई पढ्न र बस्तीबाहिर हिँड्न मन लाग्छ । तर, आफ्नै समुदायका कारण उनी कतै जान पाउँदैनन् । ‘पढ्न विद्यालय र बिरामी हुँदा अस्पताल जाने कुरा त हाम्रा लागि सपनाजस्तै हो,’ उनले भने, ‘हामीलाई वरपरका गाउँ पनि घुम्न मन लाग्छ, तर मुखियाले जान दिँदैनन् ।’ उनी पढाइबाट त वञ्चित छन् नै परम्परा र संस्कृतिका नाममा राउटे समुदायभित्र विद्यमान मदिरा खाने शैली पछ्याउँदै अम्मली हुने बाटोमा पनि हिँडिसकेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार राउटे समुदायमा १८ वर्षमुनिका ६९ जना छन् । जसमध्ये ३७ बालिका र ३२ बालक छन् । उनीहरू विद्यालयसम्म पुग्न नपाए पनि बाहिरी समुदायसँग सम्पर्कमा आएसँगै पढ्नुपर्छ भन्ने सन्देश पुगिरहेको देखिन्छ । तर घुमन्ते जातिका छोराछोरीले पढ्नु हुँदैन भन्ने अभिभावकको मान्यताका कारण उनीहरू पढ्ने रहरबारे मुखर हुन सकिरहेका छैनन् । ‘पढ्न पाएको भए समुदायमा कस्ता मान्छे आउँछन्, किन आउँछन् भन्नेबारे थाहा हुन्थ्यो,’ १४ वर्षीय कमल शाहीले भने, ‘हामी पनि बाबु, बराजुजस्तै अनपढ भयौं ।’
राउटे समुदायमा पढ्नु पर्दैन भन्ने मान्यता छ । महामुखिया मैनबहादुर शाहीले पढ्न रहर गर्ने बालबालिकालाई पनि विद्यालय जानबाट रोक्ने गरेका छन् ।

‘हाम्रा पुर्खाले पनि पढेनन् हामीले पनि पढेनौं । बालबच्चालाई पढाएर के गर्ने ?’ शाहीले भने, ‘हाम्रो त जंगलमा बाँच्ने र यहीं मर्ने जात हो, हाम्रो थिति कसैले पनि भुल्नु भएन ।’
जाजरकोट, दैलेख, सुर्खेत, सल्यानलगायत जिल्लामा बसाइँ सर्दै हिँडिरहने राउटेहरू केही दिनअघि मात्रै दैलेखको भैरवी–२ बाट बसाइँ सरेर महाबु–२ आइपुगेका छन् । यो समुदायमा अहिले महामुखियाको जिम्मेवारीमा मैनबहादुर शाही छन् । रास्कोटी, कल्याल, सोमवंशी वंशअनुसार आ–आफ्ना मुखिया तोकिएका हुन्छन् । राउटे समुदायको व्यवस्थापनका लागि महामुखिया तोक्ने परम्परा छ ।
यो समुदायमा अहिलेसम्म कोही पनि विद्यालय गएको रेकर्ड छैन । महामुखिया शाहीका १४ सन्तान जन्मिए, सबैको मृत्यु भइसकेको छ । कुन रोग लागेर उनीहरूको मृत्यु भयोे भन्ने उनलाई थाहा छैन । राउटे समुदायका बालबालिकालाई शिक्षा र स्वास्थ्यबारे जानकारी दिन गैरसरकारी संस्थाले ५ वर्षयता दुर्गा खत्री र लालबहादुर खत्री दम्पतीलाई शिक्षकका रूपमा राखेका छन् । लालबहादुरले भने, ‘कति भत्ता आउँछ भन्नेबारे पनि थाहा पाउँदैनन्, सामान्य शिक्षा पाएको भए जीवनस्तर धेरै माथि हुन्थ्यो ।’
शाहीका एक छोराबाट १० वर्षका नाति छन् । उनका आमाबाबु दुवैको मृत्यु भइसकेको छ । ‘उसले विद्यालय जानुपर्छ भन्ने सिकेको छैन,’ शिक्षक खत्रीले भने, ‘बरु घरमै बसेर मदिरा खाने र जंगल जाने काम सिकेको छ ।’ आफूहरूलाई पढ्न/लेख्न नदिएर महामुखियाले ठूलो अन्याय गरेको कमल शाहीले बताए । ‘वारिपारि गाउँका सबै केटाकेटी स्कुल जान्छन्,’ उनले भने, ‘हामी त न हिसाबकिताब जान्दछौं न नाम लेख्न । पढेलेखेको भए अहिले एक्लै हुनु पर्थेन, हामी पनि ठूलो मान्छे बन्थ्यौं होला ।’ राउटे समुदायमा शिक्षाको पहुँच नहुँदा उनीहरूलाई के खाने र कस्तो खानेसम्मको सामान्य ज्ञान पनि नभएको भैरवी–२ को दारेघाटका धर्मबहादुर बुढाले बताए । ‘पुर्खाले यो गरे ऊ गरे भनेर पछिल्लो पुस्तालाई त्यही कुरा मान्न बाध्य गराइरहेका छन्,’ उनले भने, ‘राउटे मुखियाहरू नै अशिक्षित भएकाले देशको अवस्था के र कस्तो छ भन्नेबारे कसैलाई पनि जानकारी छैन ।’
१६ वर्षीया बाग्या शाहीले अहिलेसम्म आफूले किताबकपी नछोएको बताइन् । ‘पढ्न त मन लाग्दो नि, पढे ठूलो मान्छे हुन्छ भन्छन् सबैले,’ उनले भनिन्, ‘हाम्रो मुखिया मान्दैनन्, हामीलाई त जंगलमा कहाँ सिकार पाइन्छ र खानेकुरा र पानी कहाँ पाइन्छ भन्ने मात्र ध्यान हुन्छ ।’ उनले आफूहरू स्कुल पढ्छन् भनेरै मुखियाहरूले छिटोछिटो बस्ती सार्ने गरेको बताइन् । उनका अनुसार स्कुल जान, कपीकिताब समाउन र नयाँ कपडा लगाउन मन भए पनि आमाबाबुले बेवास्ता गरिरहेका छन् ।
राउटेले अहिलेसम्म फिरन्ते जीवन बिताइरहेका छन् । बस्तीमा पुगेका आगन्तुकले पढ्न दिएको सल्लाहलाई उनीहरूले ठाडै इन्कार गर्छन् । बस्तीमा उनीहरूको सशक्तीकरणका लागि कार्यरत गैरसरकारी संस्थाले दिएका कपीकलमसमेत उनीहरूले नराख्ने शिक्षक खत्रीले बताए । उनीहरूलाई गुराँस गाउँपालिकाले परिचयपत्र दिएको छ, त्यो पनि आफूसँग राख्न मान्दैनन् । ‘राउटेहरूको स्वभाव कुनै कुरा संग्रह गरी राख्ने, कमाउने र एकै ठाउँमा बस्ने हुँदैन,’ उनले भने, ‘किनकि उनीहरू जे गर्छन् तत्कालको गर्जो टार्न मात्र गर्छन् ।’ जंगलमा बस्ने, कन्दमूल खाने, गुनाबाँदरको सिकार गर्ने फिरन्ते जीवनशैली अपनाइरहेको राउटे समुदायमा कुनै सदस्यको मृत्यु भए अर्को ठाउँ बसाइँ सर्ने परम्परा छ । आधुनिक औषधि उपचारप्रति पनि उनीहरू विश्वास गर्दैनन् बरु घाउ–चोटपटक लागे जडीबुटी प्रयोग गर्ने महामुखिया शाहीले बताए ।
सरकारले २०६४ सालदेखि राउटेलाई मासिक प्रतिव्यक्ति ३ हजार रुपैयाँ भत्ता दिइरहेको छ । पैसा छोए पाप लाग्छ भन्ने उनीहरू अचेल सरकारले दिने भत्तादेखि अन्य मानिससँग पैसा माग्ने काममा अभ्यस्त भएको स्थानीय कमला विकले बताइन् । अशिक्षाको अन्धकारमा बाँचिरहेको राउटे समुदायमा सरकारी भत्तापछि मदिराको अम्मल झनै बढ्न थालेको देखिन्छ । भत्ता पाउनुअघि उनीहरू आफ्नै घरमा बचेको भात र जडीबुटी मोलेर जाँड बनाउँथे । पछिल्ला वर्ष बजारिया मदिरा प्रयोग बढाएका छन् । कमसल बजारिया मदिराका कारण उनीहरूको स्वास्थ्य झनै बिग्रँदै गइरहेको छ । छेउछाउका पसलेहरूले पनि उनीहरूले भत्ता पाएपछि उधारो तिर्छन् भन्ने विश्वासले उधारोमा रक्सी बेच्ने गरेका छन् ।
स्वास्थ्य, शिक्षाप्रति सामान्य चेतना नहुँदा राउटेहरूमा पेट दुख्ने, टाउको दुख्ने, मुटु सुन्निनेजस्ता समस्या देखिएको छ भने अधिकांश बालबालिका कुपोषणले ग्रसित छन् । ‘समयमा खानपानभन्दा पनि मदिराको प्रयोग धेरै भएकाले विभिन्न रोग देखा पर्न थालेका छन्,’ अर्की शिक्षिका दुर्गा खत्रीले भनिन्, ‘सामान्य साक्षर मात्र बनाए उनीहरूलाई विभिन्न जोखिमबाट बचाउन सकिन्थ्यो ।’
भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाहीका अनुसार राउटेको एकै परिवारले मासिक ४० हजार रुपैयाँसम्म भत्ता बुझ्छन् । जसमध्ये अधिकांश रकम मदिरा सेवनमै सकिने गरेको छ । अहिले महाबु–२ मा १४१ राउटे बस्दै आएका छन् । समुदायमा मृत्युदर र जन्मदर बराबर हुँदा ५ वर्षयता उनीहरूको संख्या स्थिरजस्तै रहेको शाहीले बताइन् ।
विभिन्न संघसंस्थाबाट पाएका बाख्रा, कुखुरा, खाद्यान्नलगायत सामग्री उनीहरूले मदिरासँग साट्ने क्रम बढेको खत्रीले बताइन् । उनले भनिन्, ‘अरूले दिएको खाद्यान्न र लुगाफाटोले उनीहरूको घर व्यवहार चलिरहेको छ, अरू आवश्यकता केही छैन, जसका कारण सरकारले दिएको भत्ता रक्सीमै सक्न थालेका छन् ।’ विभिन्न संघसंस्था र सरकारी कार्यालयले गरेको लगानीअनुसार राउटेमा परिवर्तन आउनुको साटो परनिर्भरता बढिरहेको स्थानीय अगुवा दिनेश थापाको भनाइ छ । स्थानीय सरकारले राउटेको जिम्मा लिएपछि उनीहरू झनै परनिर्भर बन्न थालेको उनले बताए ।

 

मुख्य पृष्ठ

नेपालमा जीसीआई कार्यान्वयन भएको चिनियाँ दाबी

- जगदीश्वर पाण्डे

(काठमाडौं)
चिनियाँ राष्ट्रपति सी चिनफिङले गत चैतमा मात्रै प्रस्तावका रूपमा अघि सारेको ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) अवधारणा नेपालमा कार्यान्वयन भएको चीनले दाबी गरेको छ । चीनले सहकार्यका लागि आग्रह गरेपछि नेपालमा छलफलकै क्रममा रहेका बेला जीसीआई कार्यान्वयन भएको चिनियाँ भनाइ आएको हो ।
पोखरामा आयोजित दुईदिने ‘ड्रागन बोट रेस फेस्टिभल’ को पहिलो दिन बिहीबार नेपालका लागि चिनियाँ राजदूत छन सोङले ट्वीट गर्दै भनेका छन्, ‘भगिनी सहर पोखरा र लिन्झीको कला समूहले सिजाङ संस्कृतिको दृश्य भोज प्रस्तुत गरेका छन् । यो ड्रागन बोट रेस फेस्टिभलको एउटा महत्त्वपूर्ण कार्यक्रम हो । यो ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको अर्को जीवन्त कार्यान्वयन हो ।’
चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ भने जीसीआई अहिले अध्ययनकै चरणमा रहेको बताउँछन् । ‘जीसीआई विश्व सभ्यतालाई एक ठाउँमा ल्याउने अवधारणा हो । यो अवधारणामा हामी अध्ययनकै क्रममा छौं । नेपाल सरकारले छलफल गरेर यसबारे निर्णय गर्छ,’ उनले भने ।
चिनियाँ अधिकारीले यही जेठ २९ मा मात्र चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) र जीसीआईमा सहभागी हुन आग्रह गरेका थिए । बेइजिङस्थित जनबृहत् सभाहलमा तिमिल्सिनासँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी) का स्थायी समिति अध्यक्ष चाओ लचीले जीएसआई र जीसीआईमा सहभागिता जनाउन आग्रह गरेका हुन् । जीएसआईमा पनि नेपाल सहभागी भइसकेको छैन ।
चीनका राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विभिन्न मुलुकका राजनीतिक दलहरूसँग गत मार्च १५ (चैत १) मा भएको उच्चस्तरीय संवादका क्रममा जीसीआईको प्रस्ताव गरेका थिए । चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाका अनुसार सीले प्रस्ताव गरेको जीसीआईले
‘मानव समाजको साझा विकास र प्रगतिका लागि ताजा र बलियो ऊर्जा प्रदान गर्नेछ ।’
‘मानवताको इतिहासमा विभिन्न सभ्यता अस्तित्वमा आएका छन्, विकसित भएका छन् र तिनले मानव समाजको समग्र विकासलाई बढावा दिएका छन् । विविधता सभ्यताको प्रमुख विशेषता हो,’ जीसीआईका सन्दर्भमा सिन्ह्वाले लेखेको छ, ‘इतिहास, संस्कृति, राजनीतिक प्रणाली र विकासका चरणहरूमा भिन्नताका बाबजुद पनि विश्वभरका देशहरूले शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रताको साझा आकांक्षा र मानवताका मूल्यहरू राख्छन् ।’
आपसी सिकाइलाई प्रवर्द्धन गर्नु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जीसीआईबारे भनिएको छ, ‘दिगो शान्ति र कल्याणयुक्त संसारलाई महसुस गर्न हामीले जीसीआई अँगाल्नुपर्छ ।’

पूर्वपरराष्ट्र सचिव अर्जुनबहादुर थापा भने नेपालमा अध्ययनकै क्रममा रहेका बेला चीनबाट जीसीआई कार्यान्वयनको प्रतिक्रिया आउनुलाई स्वाभाविक मान्छन् । शक्तिशाली देशहरूले आफ्नो प्रभाव बढाउनका लागि बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), जीसीआई, जीडीआई, एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) लगायतका अवधारणा र कार्यक्रम ल्याइरहेको उनले उल्लेख गरे । ‘अहिले हाम्रो मायाले विदेशीले सहयोग गरेका होइनन्, उनीहरूले आफ्नो प्रभाव जमाउन खोजेका हुन् । जुन–जुन कार्यक्रम वा अवधारणा ल्याए पनि ती ग्लोबल नेतृत्व लिने र आफ्नो प्रभाव बढाउने रणनीतिअन्तर्गतकै हुन्,’ उनले भने । भारत, चीन र अमेरिकाले आ–आफ्नो प्रभाव क्षेत्र बढाउँदै लगेका बेला नेपाल ‘क्लाइन्ट स्टेट’ भएको पूर्वराजदूत थापाको विश्लेषण छ । ‘जबसम्म हामी क्लाइन्ट स्टेटबाट उम्किँदैनौं र हाम्रो रणनीति स्वायत्त हुँदैन,’ उनले भने, ‘हामी बलियो नभएसम्म यो गर र त्यो गर भन्छन् । हामी कमजोर भएका हौं ।’
चीनकै अर्को कार्यक्रम ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) मा नेपाल सहभागी भइसकेको छ । चीनकै बीआरआईमा नेपाल २०१७ मा पक्ष राष्ट्र बनिसकेको छ । चीनले यहीँ कार्यक्रमअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको दाबी गर्दै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार चीनबाटै पहिलो अन्तर्राष्ट्रिय (चार्टर) उडान भयो । उक्त उडानपछि राजदूत छनले भनेका थिए, ‘चेङ्दु–पोखराको नयाँ हवाई रुटले चीन र नेपालबीचको हिमालयपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कका लागि नयाँ उपलब्धिको संकेत गरेको छ । यो कनेक्टिभिटी नेटवर्क बीआरआईअन्तर्गत चीन र नेपालबीचको प्राथमिकतामा रहेको सहयोग क्षेत्र हो ।’ नेपाल सरकारका अधिकारीहरू भने बीआरआईअन्तर्गतका कुनै पनि योजना मुलुकमा अघि नबढेको बताउँछन् । चीनले भने चिनियाँ ऋण, निर्माण कम्पनी र डिजाइन भएकै आधारमा पोखरा विमानस्थललाई बीआरआईअन्तर्गत भन्ने गरेको छ ।

 

मुख्य पृष्ठ

टाइटानिकनजिक पनडुब्बी दुर्घटना

- कान्तिपुर संवाददाता


बोस्टन (एजेन्सी)– एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा
पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो ।
पोलार प्रिन्स जहाजसँग सम्पर्क टुटेको टाइटन नामक पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको विशेषज्ञले अनुमान
गरेका थिए । पनडुब्बीको खोजी अमेरिकाको बोस्टनबाट गरिएको थियो । टाइटानिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ७ सय किलोमिटर पर रहेको बताइएको छ । खोजीका क्रममा ल्यान्डिङ फ्रेमको टुक्रा देखिएपछि पनडुब्बी दुर्घटनामा परेको पुष्टि गरिएको हो ।
दुर्घटनामा परी बेलायतका अर्बपति व्यापारी ५८ वर्षीय हमिस हार्डिङ, पाकिस्तानी मूलका अर्बपति व्यापारी ४८ वर्षीय साहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, फ्रान्सेली एक्सप्लोरर ७७ वर्षीय पल–अनरी नार्जोलेट र यात्राको प्रबन्ध गर्ने कम्पनी ओसनगेटका
प्रमुख कार्यकारी अधिकृत ६१ वर्षीय स्टकटन रसको मृत्यु भएको अमेरिकी कोस्ट गार्डले उल्लेख गरेको छ । दाउद बेलायतमा प्रिन्स ट्रस्ट च्यारिटीको बोर्ड सदस्यसमेत रहेको बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनामा परेका फ्रान्सेली एक्सप्लोरर नार्जोलेट अन्डर वाटर अनुसन्धानमा नाम चलेका व्यक्ति हुन् । पानीमा डुबेका जहाज खोज्ने कार्यमा विशेषज्ञता हासिल गरेका उनलाई ‘मिस्टर टाइटानिक’ नामसमेत दिइएको थियो । फ्रान्सको नौसेनाका पूर्वकमान्डर उनी सन् १९८६ मा ‘फ्रेन्च इन्स्टिच्युट फर रिसर्च एन्ड एक्लप्लोइटेसन अफ दि सी’ सँग जोडिएका थिए । यसको एक वर्षपछि उनले टाइटानिकका अवशेष जुटाउने अभियानको नेतृत्व गरेका थिए ।
पनडुब्बी दुर्घटनालाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ प्रस्तुत गरेका छन् । विज्ञहरूले पनडुब्बी विनाशकारी दुर्घटनामा परेको दाबी गरेका छन् । बेलायती पूर्वपनडुब्बी कमान्डर र्‍यान रामले उक्त पनडुब्बीमा ब्ल्याक बक्स नभएको बताएका छन् ।
विभिन्न देशका उद्धार टोलीले टाइटनिक रहेको स्थान नजिकै पनडुब्बीको भग्नावशेष रहेको बताएका छन् । २२ फिट लामो पनडुब्बी के कारणले दुर्घटना भयो भन्ने विषयमा फरकफरक अड्कलबाजी चलेका छन् । धेरैले यसको डिजाइनमाथि पनि प्रश्न उठाएका छन् । जसमध्ये एक हुन्, टाइटानिक फिल्मका निर्देशक जेम्स क्यामरुन । फिल्म निर्माणका क्रममा उनी पटकपटक टाइटानिक पानीजहाजमा पुगेका थिए ।
यो दुर्घटनालाई कतिपयले १ सय १० वर्षअघि भएको टाइटानिक दुर्घटनासँग तुलना गरेका छन् । यस विषयमा १९९७ मा फिल्म बनेको थियो । टाइटानिकको क्याप्टेनले हिउँको ढिक्कालाई बेवास्ता गर्दा दुर्घटना भएको दृश्य फिल्ममा छ ।
कहिल्यै नडुब्ने विश्वास गरिएको टाइटानिक सन् १९१२ मा दुर्घटनामा परेको थियो, जहाँ १ हजार ५ सयले ज्यान गुमाएका थिए । पनडुब्बी दुर्घटनापछि महासागरको भित्री भागमा पर्यटन नियमन हुनुपर्ने मागसमेत उठ्न थालेको छ ।

Page 2
म्यागेजिन

कर्णालीमा सरकार ब्युँझाउँदै दलित आवाज

- कृष्णप्रसाद गौतम

(सुर्खेत)
गत वैशाख पहिलो साता ‘दलितका लागि दलित आन्दोलन’ ले कर्णाली प्रदेश सरकारलाई दलित समुदायका विभिन्न ८४ वटा मागसहित मागपत्र बुझायो । केही दिन उनीहरूले मुख्यमन्त्री कार्यालयमा समेत धर्ना दिएपछि वैशाख ५ गते सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव सन्तबहादुर सुनारको संयोजकत्वमा सरकारले ५ सदस्यीय वार्ता समिति गठन गरी दलित समुदायका मागबारे छलफल गर्‍यो । वार्ता समितिले उनीहरूका मागमध्ये १२ वटा बुँदाहरू समावेश गरी दलित अगुवाहरूसँग सहमति गर्‍यो ।
सचिव सुनारले त्यसबारे प्रतिवेदन बनाएर मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएका थिए । तर आफूहरूका माग सम्बोधन नभएको भन्दै प्रदेश सरकारले बजेट ल्याएको दिन असार १ मा कर्णाली प्रदेशसभाअघि दलित अगुवाले प्रदर्शन गरे । प्रदर्शन तितरबितर पार्न प्रहरीले बल प्रयोग गर्‍यो र दुवै पक्षबीच झडपसमेत भयो । झडपमा परी जिल्ला प्रहरी प्रमुखसहित ८ प्रहरी र ३० जनाभन्दा बढी दलित समुदायका व्यक्तिहरू घाइते भएका छन् । आन्दोलनका संयोजक खगेन्द्र सुनारसहित १० जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ । ‘दलितका लागि दलित आन्दोलन’ दलितसम्बन्धी कार्यरत विभिन्न संघसंस्था र दलित अगुवाहरूको साझा संस्था हो ।
त्यसयता दैनिकजसो प्रदेश राजधानी वीरेन्द्रनगरमा विभिन्न दलितसम्बन्धी संघसंस्थाहरूले पक्राउ परेकाहरूको रिहाइको माग गर्दै र दलितलाई बजेटमा समेट्न माग गर्दै विभिन्न कार्यक्रम गरिरहेका छन् । यही विषय कर्णाली प्रदेशसभामा बोल्ने अधिकांश सांसदहरूले पनि उठाइरहेका छन् । शुक्रबारको कर्णाली प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै प्रतिपक्ष दल एमालेका नेता यामलाल कँडेलले पनि दलितका मुद्दामा सरकारले चासो नदिएको आरोप लगाए । त्यस्तै माओवादीका प्रमुख सचेतक रणसिंह परियारले सरकारले सुरुदेखि नै दलित समुदायलाई उपेक्षा गरिरहेको बताए । ‘एक त कर्णालीका दलित पुस्तौंदेखि पछि पारिएका छन्, संघीयताअघि हामीले केही पाएनौं नै अब पनि हाम्रा मागहरूको बेवास्ता गर्ने, बजेटमा नसमेट्ने र आवश्यक
ऐनहरू निर्माण गर्न कन्जुस्याइँ गरिएको छ,’ उनले भने, ‘कर्णालीका नीति निर्माण तहमा पनि हामी हेपिएकै छौं ।’
कर्णाली प्रदेशमा सबैभन्दा बढी झन्डै २४ प्रतिशत दलित समुदायको जनसंख्या छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार १६ लाख ८८ हजार जनसंख्या रहेको कर्णालीमा दलितको संख्या करिब ३ लाख ९६ हजार छ । कर्णालीमा दलित समुदायमध्ये सबैभन्दा बढी विश्वकर्मा २ लाख ७३ हजार र मिजार ४७ हजार छन् । जनसंख्या सबैभन्दा बढी भए पनि कर्णाली सरकारले आफूहरूलाई उपेक्षा गरिरहेको भन्दै दलित समुदायको असन्तुष्टि छ । ‘नीति निर्माण तहमा नहुँदा एक त दलित समुदाय आरक्षणमा मात्र सीमित भए,’ नागरिक अगुवा नरबहादुर नेपालीले भने, ‘जसका कारण समुदायलाई बजेट, नीति तथा कार्यक्रम र सरकारका विभिन्न ऐन कानुनमार्फत पछि पार्ने काम भयो ।’ शिक्षा र स्वास्थ्यमा दयनीय अवस्था, भूमिमा स्वामित्वको अभाव, सरकारी सेवा प्रवाहमा न्यून पहुँचलगायत कारणले कर्णालीका दलित समुदाय अझै पनि पछाडि नै रहेको उनको भनाइ छ ।
यसअघिका बजेटमा पनि दलितलाई योजना र बजेटमा प्राथमिकता नदिइँदा राज्यको मूलधारमा अझै पनि आउन नसकेको उनको भनाइ छ । कर्णाली सरकारले आगामी वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याए पनि १ प्रतिशत बजेट पनि दलित समुदायलाई किटान गरेर विनियोजन नभएको उनको भनाइ छ ।
कर्णालीको नीति निर्माण तहमा पनि दलित समुदायको प्रतिनिधित्व कमजोर छ । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा ४ जना मात्र दलित सांसद छन् । ८ सदस्यीय कर्णाली मन्त्रिपरिषद्मा ऊर्जा तथा जलस्रोतमन्त्री उर्मिला विक एक मात्र सदस्य छिन् । यसअघि पनि कर्णालीका बादी समुदाय आन्दोलित भएका थिए । उनीहरूले आफूहरूका लागि जग्गा, जीविकोपार्जनका लागि सहयोगलगायत माग गर्दै २०७७ फागुन १० देखि २६ गतेसम्म कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका थिए । दूधमुखे बच्चा बोकेर विभिन्न जिल्लाबाट आएका महिला, युवा, ज्येष्ठ नागरिकलगायत झन्डै एक सय बादी अगुवाले १७ दिनसम्म कार्यालयअघि धर्ना दिएपछि अन्ततः कर्णाली सरकारले उनीहरूसँग ५ बुँदे सहमति गर्‍यो । अघिल्लो वर्ष फागुन २६ मा तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोहबरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र मिश्रले प्रदेश सरकारका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तर सहमतिको झन्डै २७ महिना बित्दासमेत उक्त सहमति कार्यान्वयन गर्न सरकारले सकेको छैन । बादी समुदायसँग सरकारले जमिन उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गरी आवश्यक समन्वय गर्ने, उत्थान र विकासका लागि २ महिनाभित्र यथार्थपरक प्रतिवेदन पेस गर्न ३ सदस्यीय कार्यदल गठन
गर्ने, युवाहरूलाई सीपमूलक तालिम दिनेलगायत सहमति
गरेको थियो ।
पटक–पटक सरकारले आफूहरूसँग विभिन्न लिखित सहमति र प्रतिबद्धता गरे पनि कार्यान्वयनमा बेवास्ता गरिरहेको दलित अगुवा हिक्मत बादीले बताए । ‘सरकारले त्यसबेला हामीलाई सहमति गरी घर पठायो,’ बादी संघर्ष समितिका संयोजकसमेत रहेका उनी भन्छन्, ‘तर सहमतिमा लेखिएका पक्ष लिएर प्रदेश सरकार हाम्रोसामु कहिल्यै आएन ।’ विगतदेखि नै पटक–पटकका आन्दोलनमा सरकारले दलित समुदायलाई कागजी आश्वासनमा थामथुम पार्दै आएको अर्का अगुवा मञ्जुल बादीले बताए ।
आगामी आर्थिक वर्षको बजेटका लागि तत्कालीन सचिव सुनारले तयार पारेको प्रतिवेदनमा दलित समुदायका लागि आधारभूत आवश्यकता पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने, सरकारको नीति कार्यक्रम र बजेटमा आवश्यक व्यवस्था गर्ने, रोजगारमूलक आयआर्जनमूलक तथा अनुदानमूलक कार्यक्रममा दलित समुदायलाई अधिकतम रूपमा समावेश गर्नुपर्नेलगायत विषय समेटिएका छन् । सुनारले आफू कर्णालीबाट सरुवा भएपछि त्यो प्रतिवेदन कार्यान्वयन भए, नभएकोबारे जानकारी नभएको बताए । नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष वसन्त विश्वकर्माले सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्नुको साटो प्रहरी लगाएर आफूहरूको आवाज दबाउन खोजेको आरोप लगाए । दलित समुदायको सबैभन्दा बढी जनसंख्या भएको कर्णाली प्रदेशमा दलित विधेयक अझै पारित हुन नसकेको उनको भनाइ छ ।
राजनीतिक विश्लेषक अर्जुनबहादुर अयडी कर्णालीमा सधैं दलित समुदाय राजनीतिक, आर्थिक र सामाजिक रूपले पछाडि पारिएको बताउँछन् । कर्णालीको राज्य संयन्त्रमा गैरदलित नै हाबी भएको उनले बताए । ‘कर्णालीमा सबैभन्दा बढी दलितको जनसंख्या छ भनिएको छ, तर खै नेतृत्व तहमा कति दलित आए त ?,’ उनले भने, ‘जबसम्म उनीहरू निर्णय गर्ने तहमा पुग्दैनन् तबसम्म उनीहरूका समस्या जहाँका त्यही हुन्छन् ।’ शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकताहरू पूरा नहुँदा अधिकांश दलित समुदाय जीविकोपार्जनकै चिन्तामा हुने गरेको उनको मत छ ।
आर्थिक सर्वेक्षण– २०२० अनुसार कर्णालीमा बहुआयामिक गरिबी ५८.७ प्रतिशत छ । त्यसमध्ये झन्डै ८० प्रतिशत दलित समुदाय बहुआयामिक गरिबीमा रहेको प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७६/७७ मा गरेको ‘लक्षित तथा सीमान्तकृत समुदाय सर्वेक्षण’ ले देखाएको छ । जसअनुसार कर्णालीमा आर्थिक रूपले सक्रिय जनसंख्या ६९.८ प्रतिशत रहेकामा दलित समुदायमा २९ प्रतिशत मात्र आर्थिक रूपले सक्रिय छन् । औसत आयु, शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आयलगायत कारण सूचकांक कमजोर हुँदा दलित समुदाय अझै पनि गुणस्तरीय जीवनयापनबाट वञ्चित हुनुपरेको समाजशास्त्री अमरबहादुर ओलीले बताए । उनका अनुसार संघीय संरचनापछि बनेका सबै तहका सरकारले उनीहरूको जीवनमा खासै परिवर्तन ल्याउन सकेका छैनन् ।
मुख्यमन्त्री राजकुमार शर्मा भने दलित समुदायलाई प्राथमिकतामै राखेर ऐन कानुन निर्माण भइरहेको र बजेट विनियोजन भइरहेको दाबी गर्छन् । ‘एकीकृत ढंगबाट विकास निर्माण, रोजगारी र क्षमता अभिवृद्धिलगायतका काम गरिरहेका छौं, त्यसमा दलित समुदाय छुट्ने कुरै हुँदैन,’ उनले भने, ‘उहाँहरूलाई लक्षित वर्गका विभिन्न कार्यक्रममा समेटिएकै छ । प्रदेश सरकारको प्रयत्न नै सबै नागरिकलाई सुखी र प्रदेशलाई समृद्ध बनाउने नै हो ।’ दलित समुदायले विभिन्न समयमा राखेका मागहरू सम्बोधनका लागि प्रक्रिया पनि अघि बढाइएको उनको भनाइ छ ।

Page 3
समाचार

विद्यालयदेखि उच्च शिक्षासम्मको परामर्श एकै थलोमा

- कान्तिपुर संवाददाता


काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुक्रबारदेखि सञ्चालित कान्तिपुर हिसान शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन्स्ले संयुक्त रूपमा मेला आयोजना गरेका हुन् । मेलाको पहिलो दिन २५ हजार जनाले अवलोकन गरेको हिसानले जनाएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ उक्त ‘एडुफेयर’ आइतबारसम्म तीन दिन चल्नेछ । जहाा ७५ वटाभन्दा बढी शिक्षण संस्थाका स्टल राखिएका छन् । एसईई उत्तीर्णदेखि स्नातक तहमा भर्ना हुने विद्यार्थी र तिनका अभिभावकसम्मलाई लक्षित गरी बिहान १० देखि ५ बजेसम्म एडुफेयर सञ्चालन गरिएको छ । विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन, परीक्षा पद्धति, भर्ना मापदण्ड, छात्रवृत्ति, सम्भावित शुल्कलगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ । निःशुल्क प्रवेशको व्यवस्था रहेको मेलामा सहभागी केहीको प्रतिक्रिया कान्तिपुरले लिएको छ :

सबिना बानियाँ क्षत्री
उपप्राध्यापक, काठमाडौं विश्वविद्यालय

यो शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय (केयू) पहिलो पटक सहभागी भएको हो । केयूमा साइन्स, म्यानेजमेन्ट, इन्जिनियरिङ, मेडिकल साइन्स, आटर््स, एजुकेसन, ल सबै संकाय छन् । त्यसभित्र पनि विभिन्न विषयहरू सञ्चालन गरेका छौं । अहिलेसम्म राम्रो पढाउँदै/गर्दै जाँदा सबैलाई थाहा भइहाल्छ भनेर त्यति धेरै प्रचारप्रसार गर्दैनथ्यौं । तर, अहिले विद्यार्थीहरू विदेश जाने क्रम बढ्यो । हाम्रो विश्वविद्यालयले सञ्चालन गरिरहेका कार्यक्रममा पढ्नका लागि पनि विद्यार्थी विदेश नै जाने गरे । विद्यार्थी, अभिभावकलाई थाहा नभएर पो विदेश जानुभएको हो कि भनेर यसपालि मेलाबाट जानकारी दिने कोसिस गरेका हौं । सबै संकायका बारे एकै थलोबाट जानकारी दिन लागेका हौं । धुलिखेल र ललितपुरमा केयूको पठनपाठन हुन्छ । मेलामा जुन कुनै संकाय र विषयका बारेमा सूचना पाउन सकिन्छ । अन्तर्राष्ट्रिय परिवेश र विदेशी उत्कृष्ट विश्वविद्यालयहरूले जस्तै हामीले पनि नयाँ/नयाँ विषय र कार्यक्रममा पठनपाठन थालेका छौं ।
नयाँ पुराना सबै शैक्षिक गतिविधिबारे जानकारी दिने उद्देश्य लिएका छौं । प्रत्येक संकायमा नयाँ कार्यक्रम सुरु भएको छ । भर्ना प्रक्रिया, पाठ्यक्रम, कोर्स पूरा हुने अवधि, परीक्षा प्रणाली, छात्रवृत्तिबारे विद्यार्थी, अभिभावक मेलामा आएर जानकारी लिइराख्नुभएको छ । जुन विषय पढ्न विदेशमा लाखौं खर्च गरिरहनुभएको छ, त्योभन्दा धेरै सस्तोमा स्वदेशमै पढ्न पाइन्छ ।

मञ्जिल श्रेष्ठ
शिक्षक, मेलाका परामर्शदाता

विद्यार्थीलाई जानकारी दिन मेला आयोजना गरिएको हो । एकै ठाउँबाट धेरै शिक्षण संस्थाबारे जानकारी पाउन सकिन्छ । काठमाडौंमा मात्रै पनि यति धेरै कलेज छन् । विद्यार्थी, अभिभावकले हरेक कलेज धाएर सूचना, जानकारी लिन कठिन र खर्चिलो पनि हुन्छ । मेलाको आकर्षण भनेकै एकै ठाउँबाट धेरै शिक्षण संस्थाको जानकारी पाउनु हो । शैक्षिक गुणस्तर, पूर्वाधार, त्यसको पृष्ठभूमि, इतिहास र विगतको शैक्षिक उपलब्धिबारे जानकारी लिन सकिन्छ । सम्बन्धित कलेजमा पढेका पुराना विद्यार्थीको अनुभव सुन्न पाइन्छ ।
पढाइको शैली र तरिकाबारे जानकारी दिइन्छ । शिक्षकहरूले प्रत्यक्ष रूपमा काउन्सिलिङ गर्छौं ।
पढ्नका लागि विदेश नै जाने भए पनि त्यहाँ राम्रो विषय चयन गर्न पनि मेलाबाट धेरै सूचना पाइन्छ । विदेशमा जत्तिकै शिक्षा यहीं पाइन्छ भने विद्यार्थी, अभिभावकले एक पटक सोच्ने मौका पनि पाउँछन् । राम्रो कलेज यहीं छनोट गर्न सके पछि विदेश पढ्न जाँदा पनि सहयोग नै पुग्छ । विदेश पढ्न जाने अहिले लहर नै चलेको छ । कक्षा १२ पछि त प्रायः सबै विदेश नै जाने भन्छन् । पढाइपछिको भविष्य खोजीमा पनि विदेश जानुपर्ने बाध्यता देखिन्छ । बाहिरको डिग्री लिए पनि विदेश नै बस्छन् भन्ने पनि हैन । मेलामा आएर आफ्नो देशको शिक्षण संस्थाबारे जानकारी लिनु उपलब्धिमूलक नै हुन्छ ।

पुष्पाकुमारी मण्डल
विद्यार्थी, जनकपुर

एकै छानामुनि छानीछानी कलेजबारे बुझ्न पाइएको छ । कलेजका सर/ म्याडमहरूले विभिन्न जानकारी दिनुभयो । पूर्वविद्यार्थीबाटै कलेजका बारेमा राम्रो/नराम्रो कुरा सुन्न पाउँदा धारणा बनाउन सजिलो हुँदो रहेछ । म जनकपुरदेखि मेलामा आएको हुँ । कक्षा ११ पढ्ने राम्रो स्कुलको खोजीमा छु । स्कुलपिच्छे हिँडेर यति धेरै कुरा यति छिट्टै थाहा पाउन त असम्भव नै थियो । विज्ञान संकाय पढ्ने मेरो तयारी छ । त्यसका लागि कलेज कहाँ/कहाँ छन् भन्ने पनि बुझें । शुल्क के–कति लाग्ने रहेछ, त्यसको पनि जानकारी पाएँ । कति त मैले नामै नसुनेका कलेज पनि भेटें । छात्रवृत्तिमा प्रतिस्पर्धा गर्ने प्रक्रिया पनि थाहा भयो । स्कुलका अतिरिक्त क्रियाकलाप, गाडी सुविधा, पूर्वाधार, कक्षाकोठालगायत प्राप्त गर्ने सुविधाबारे पनि धेरै कुरा थाहा भयो ।

साक्षी चौधरी
विद्यार्थी, ललितपुर

एसईई सकेर कक्षा ११ भर्नाको तयारीमा छु । कहाँ पढ्ने, के विषय पढ्ने भनेर दोधारमा नै छु । मेलामा आएर १५/२० वटा कलेजबारे बुझें । लाग्ने शुल्क, भर्ना प्रक्रिया, छात्रवृत्ति, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलापबारे जानकारी लिएँ । शिक्षक र परामर्श दिन बस्नुभएका विद्यार्थीहरूको कुरा सुनेर साइन्समा भर्ना हुने विचार गरेकी छु । यहाँ कुरा सुन्दा ४/५ वटा कलेज मन परेका छन् । अब रिजल्ट आएपछि भिजिटमा जान्छु । उहाँहरूले पनि बोलाउनुभएको छ । कलेज/कलेज डुलेर यति धेरै कुरा बुझ्ने त समय नै हुँदैनथ्यो । यो हिसाबले मेला धेरै राम्रो लाग्यो । कहाँ पढ्ने भनेर छान्ने त आफैंले हो । शुल्क पनि कलेजअनुसार फरक–फरक पाएँ । आफ्नो अभिभावकको क्षमताअनुसार सरसल्लाह गरेर भर्ना हुन मेलाबाट राम्रो सल्लाह पाइयो ।

लोकबहादुर भण्डारी
महासचिव, हिसान

विद्यार्थीको वृद्धि विकासलाई सहयोग गर्ने गरी देशका उत्कृष्ट शैक्षिक संस्थाको गतिविधि एउटै थलोबाट जानकारी दिन खोजिएको हो । कहाँ पढ्ने भन्ने निर्णय विद्यार्थीले नै गर्न सक्छन् । धेरै विद्यार्थी, अभिभावकलाई यसले सहयोग पुर्‍याएको छ । विद्यार्थीले सही शैक्षिक संस्था छनोटका लागि मेलामा सूचना पाउँछन् । एकै ठाउँबाट धेरै शैक्षिक संस्थाको जानकारी दिनु मेलाको विशेषता हो । विद्यार्थीले यहाँबाट छात्रवृत्तिका बारेमा पनि थाहा पाउन सक्छन् । मेलाले उत्कृष्ट, गुणस्तरीय शिक्षा नेपालमै पाइन्छ, नेपालका शिक्षण संस्था विदेशकासँग प्रतिस्पर्धा गर्न तयार छन् भन्ने कुरा मेलाबाट पनि देखिन्छ । विद्यार्थीलाई मेलाको आकर्षणले नेपालमै पढ्न प्रेरित गर्छ । पूर्वाधार, शैक्षिक गुणस्तर सबै हिसाबले यहाँका शिक्षण संस्था अब्बल छन् । शिक्षक, संस्थाको अवस्था बुझ्ने थलो पनि मेला हो । नेपाललाई शैक्षिक हब बनाउन सरकारले माहोल बनाउनुपर्छ, सहयोग गर्नुपर्छ । शिक्षण संस्थाहरूले आफ्नो आचारसंहिता पालना गरेर मेला गरेका हौं । अनुमति लिएर नै शैक्षिक मेला गर्दै आएका छौं ।

टंकराज आचार्य
मेला संयोजक

मेलामा विद्यार्थी, अभिभावकको सहभागिताले उत्साहित छौं । विद्यार्थीहरू जहिल्यै जिज्ञासु हुन्छन् । विद्यार्थी, अभिभावकलाई सही परामर्श दिन पनि मेला गरेका हौं । नेपालमा पनि गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने शिक्षालय छन् भन्ने अनुभूति मेलाको अवलोकनपछि प्राप्त गर्न सकिन्छ । विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरू कक्षा ११, १२ पढ्नका लागि कस्ता शिक्षालय छन् भनेर थाहा पाउन सकिन्छ । छात्रवृत्तिका योजना, शैक्षिक पद्धति, गुणस्तर कस्तो छ, सम्पूर्ण सूचना प्राप्त गर्न सकिन्छ । पढ्न विदेश जानुपर्छ भन्ने कुराले अहिले गाउँ–गाउँसम्म जरा गाडिसक्यो । यस्तो बेला विद्यार्थीलाई स्वदेशमै पढ्न प्रेरित गर्नुपर्छ । मेलाले त्यो काम गर्छ । यहाँ स्वदेशी शिक्षण संस्था चिनाउने र प्रचारप्रसारको काम भएको छ । नेपालमा शैक्षिक वातावरण बनाउन केन्द्रित छौं । उत्कृष्ट शिक्षा नेपालमै भनेर मेलाको नारा बनाएका छौं । मेलाले नेपालमै पढौंपढौं लाग्ने म्यासेज आम रूपमा दिन सफल भएको छ ।

 

Page 4
समाचार

पहिरोले एकै परिवारका ४ को मृत्यु

- कान्तिपुर संवाददाता

ओखलढुंगा (कास)– चम्पादेवी गाउँपालिका–८ बिलन्दुका रणबहादुर गुरुङ बिहीबार साँझ खाना खाएर परिवारसहित घरको माथिल्लो तलामा सुतेका थिए । मुसलधारे वर्षा परिरहेको थियो । राति १० बजेतिर गाउँ माथिबाट ठूला ढुंगासहित खसेको पहिरोले घर बगाउँदा रणबहादुरको परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको छ । नजिकैका दुई घरका परिवार भने भागेर बाँचेका छन् ।
पहिरोमा परी ३६ वर्षीय रणबहादुरसहित उनकी ३१ वर्षीया श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको हो । पहिरोले बगाएका अन्य दुई बलबहादुर गुरुङ र जरसिंह गुरुङका परिवार भने भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षाकर्मीको टोली राति नै घटनास्थल पुगेर स्थानीयसँगै उद्धारमा खटिएको थियो ।
जिल्ला प्रहरीका डीएसपी दीपकबहादुर केसीका अनुसार मृतक रणबहादुरको एकतले दुईवटा घर, अन्नपात, भाँडाकुँडासहित १३ खसीबाख्रासमेत बगाएको हो । अन्य दुई घरको कुखुरा फार्म, गोठलगायत पूर्णरूपमा क्षति भएको छ । पहिरोले विस्थापित भएका दुई परिवारलाई तत्काल राहत उपलब्ध गराउन सदरमुकामबाट रेडक्रसको टोली पुगेको छ । पहिरोका कारण करिब ५० घरधुरी जोखिममा रहेको चम्पादेवी–८ का वडाध्यक्ष खड्ग बरालले बताए ।
जोखिममा रहेकामध्ये करिब १५ घरधुरीलाई शुक्रबार नै अस्थायी रूपमा कल्पेश्वर माध्यमिक विद्यालयमा सार्ने काम भएको उनले बताए । उनले भने, ‘तत्काल पहिरोको जोखिममा रहेका १५ घर सार्ने काम भइसकेको छ । निरन्तर पानी पर्‍यो भने पहिरो जाने सम्भावना अझै छ ।’

समाचार

जन्ती सवार गाडी दुर्घटना

- कान्तिपुर संवाददाता


गोरखा (कास)– जन्ती सवार पिकअप भ्यान दुर्घटना हुँदा बिहीबार राति सहिद लखन–३ सिलिङ नजिकैको पात्लेखोलामा ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । १९ जना सवार जिप सडकबाट २ सय ५० मिटर तल खसेको हो । घटनाले पोखरीडाँडा बस्ती शोकमा छ ।
सहिद लखन–३ कोटगाउँस्थित बेहुलीको घरमा टीकाटालो गरेर वडा ५ पोखरीडाँडा फर्किरहेको जिप दुर्घटनामा परेको हो । घटनास्थलमै मृत्यु हुनेमा पोखरीडाँडाका २२ वर्षीय प्रवीन थापा, २४ वर्षीय वीरबहादुर थापा, १८ वर्षका नीरज थापा, १७ वर्षीया नविना थापा र वडा ४ का ६५ वर्षीय थनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
‘टीका लगाउने काम सकेर ३ वटा जिपमा फर्कंदै थियौं,’ सहिद लखन–५ का मनबहादुर थापाले भने, ‘गाडीहरू १०/१० हात जतिको फरकमा थिए । पछिल्लो जिप खस्यो भनेपछि झसंग भयौं, गाडी रोकेर दौड्दा जिप भीरबाट खसिसकेको रहेछ ।’ कोटगाउँमा दुलहीको घरबाट करिब ५ सय मिटर पर पुग्दा राति पौने १ बजेतिर पिकअप भ्यान दुर्घटनामा परेको हो ।
‘जिप खस्यो भनेपछि हामी चढेको गाडी रोकियो, झरेर हेर्न जाँदा गाडी, मान्छेहरू भीर तल पुगिसकेका रहेछन्,’ उनले भने । घाइते भएकाको उद्धारमा राति नै जन्ती र स्थानीयवासी खटिएका थिए । जन्ती बोकेकै अन्य दुई गाडीमा चढाएर घाइतेलाई तनहुँको आबुखैरेनीस्थित अस्पताल लगिएको मानबहादुरले बताए । जिप अप्ठ्यारो भीरमा खसेकाले मृतक पाँचै जनाको शव शुक्रबार बिहान मात्र निकालिएको छ । प्र३–०१–०२३ च २४२७ नम्बरको टाटा योद्धा पिकअप सडकबाट खसेर दुर्घटना भएको डीएसपी लीलाराज लामिछानेले बताएका छन् । बेहुला–बेहुलीलगायतका अर्को गाडीमा थिए । दुर्घटनामा घाइते १२ मध्ये चार जनाको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । अप्रत्याशित घटना भएको भन्दै गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको थियो ।

 

Page 5
अर्थ वाणिज्य

ड्रागन बोट रेसको उल्लास

- दीपक परियार

(पोखरा)
क दशकदेखि पोखराको रिट्ठेपानीमा व्यावसायिक खेती गर्दै आएका चिनियाँ नागरिक स्याङ साओ ख्वालाई आफ्ना देशका नागरिकको स्वागत–सत्कारमा भ्याइनभ्याई छ । फेवातालमा शुक्रबार सुरु भएको चिनियाँ पर्व ‘ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुन आएका चिनियाँ पाहुनालाई उनी नेपाल बुझाउँछन् । नेपालीलाई पनि दुई हजार वर्ष पुरानो चाडबारे बताउँछन् । स्पष्ट नेपाली बोल्ने उनी आफू बसेको सहरमा पहिलोपल्ट बोट फेस्टिभल मनाउन पाउँदा मक्ख छन् ।
चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा दक्षिण एसियामै पहिलोपल्ट ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो । फेस्टिभलमा आठ टोली डुंगा दौड प्रतियोगितामा भाग लिएका छन् । पाँच सय र दुई सय मिटरको दूरीमा भएको डुंगा दौडमा ४ चिनियाँ र ४ नेपाली टिम सहभागी छन् । प्रतियोगितामा सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एसजी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फ्रेन्डसिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसीए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट टिमले मैत्रीपूर्ण प्रतिस्पर्धा गरे । पाँच सय मिटरतर्फ विजेताले ५ लाख, उपविजेताले ३ लाख र तेस्रो स्थान हासिल गर्नेले २ लाख रुपैयाँ पाउनेछन् । २ सय मिटर दौडतर्फ विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रोले १ लाख रुपैयाँ पाउनेछन् । विजेताको छिनोफानो भने शनिबार हुनेछ ।
ड्रागनजस्तै देखिने गरी बनाइएको लामो, साँघुरो डुंगाको अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् । पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् । सहभागीले आफ्नो डुंगालाई छोटो समयमा अन्तिम रेखासम्म पुर्‍याउने प्रयास गर्छन् । ‘यसले साझेदारी, शारीरिक तन्दुरुस्ती, सांस्कृतिक आदानप्रदान र सामुदायिक संलग्नतालाई महत्त्व दिन्छ,’ स्याङले भने । यो प्रतियोगिता ५० भन्दा बढी देशमा आयोजना भइसकेको छ । एसियाली खेलकुद र ओलम्पिकमा पनि प्रवेश गरिसकेको छ । महोत्सवलाई चिनियाँ भाषामा ‘डुआनवु जी’ भनिने स्याङले जनाए । यो चीनका चार महत्त्वपूर्ण परम्परागत चाडमध्ये एक हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले महोत्सव उद्घाटन गरे । प्रतियोगितामा पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ । फेस्टिभलका लागि चीनबाटै आठ वटा विशेष डुंगा पोखरा ल्याइएको थियो । दूतावासको खर्चमा चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको चार्टर्ड उडानबाट बुधबार ६० जना खेलाडीसहितको चिनियाँ टोली पोखरा विमानस्थल ओर्लिएको थियो । चीनले यस प्रकारको डुंगा दौड उत्सव ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको छ । यस वर्षदेखि हरेक वर्ष ड्रागन बोट रेस फेस्टिभल पोखरामा हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जनाए ।

अर्थ वाणिज्य

‘अव्यावहारिक कर नीतिले लगानी घटाउँछ’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– पुँजी वृद्धिका लागि नियामकीय निकायको निर्देशनबमोजिम जारी भएको एफपीओ, मर्जर तथा एक्विजिसनमा विगतदेखिको कारोबार आकर्षित हुने गरी कर लगाउने प्रावधान अव्यावहारिक भएको सरोकारवालाले बताएका छन् । बजेटमार्फत ल्याइएको यस्तो नीतिले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरिरहेको उनीहरूको भनाइ छ । सरकारले यस्तो निर्णय नसच्याए व्यवसायलाई पुँजी/आकार वृद्धि तथा विस्तारमा हतोत्साहित गर्ने र वैदेशिक लगानीसमेत निरुत्साहित गर्ने उनीहरूले जनाए ।
नेपाल उद्योग परिसंघ (सीएनआई) को २० औं वार्षिक साधारणसभामा शुक्रबार परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले यही विषयमा आफ्ना धारणा राखे । आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत लगाइएको करको दर नसच्याए स्वदेशी उद्योग धराशायी हुने र स्वदेशी–वैदेशिक लगानी निरुत्साहित हुने अग्रवालको भनाइ छ । वनस्पति घिउ–तेलको कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने भन्सार दर फरक नहुँदा २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेका करिब तीन दर्जन दाल उद्योगसमेत धराशायी बन्न सक्ने उनले बताए । ‘वनस्पति घिउ–तेलको कच्चा पदार्थ आयातमा १ प्रतिशत भन्सार लाग्दै आएकामा हाल १० प्रतिशत भन्सार बनाइएको छ,’ उनले भने, ‘यसलाई तत्काल सच्याई १ प्रतिशत कायम गर्नुपर्छ ।’
कोभिड महामारीको असरबाट पर्यटन उद्योग तंग्रिन लागेका अवस्थामा पर्यटन व्यवसायीको मनोबल उच्च गराउनुपर्नेमा हवाई टिकटमा भ्याट र पाँचतारे होटल तथा रिसोर्टमा विलासिता शुल्क लगाइएको उनले बताए । ०४८/४९ सालतिर सुरु भएको पहिलो चरणको सुधारले निजी क्षेत्रको लगानी विस्तार गराउँदा सामाजिक, आर्थिक विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।
कतिपय उद्योगी व्यवसायीले पारदर्शी हिसाब राख्न हिचकिचावट गरेको अर्थमन्त्री प्रकाशशरण महतको भनाइ छ । ‘एकाउन्टिङ सिस्टममा जान जुन हिचकिचावट छ, समस्या त्यहाँनिर देख्छु,’ उनले भने, ‘कतिपय व्यवसायी मकहाँ आएर बरु अर्को ट्याक्स लगाइदिन, भ्याट नलगाइदिन भन्ने गरेका छन् ।’ बजेटमा करको दायरा विस्तार गर्ने विषय उठाइएको तर कर नबढाइएको उनको दाबी छ । भ्याट छुट सूची हरेक वर्ष बढ्दै गएकामा आफूले त्यो क्रम रोकेको उनले बताए ।
खाने तेलको कच्चा पदार्थ आयात गर्दा थप कर लगाएको नभई बीचमा दिइएको भन्सार सहुलियतलाई निरन्तरता नदिइएको उनको भनाइ छ । ‘पर्यटन, कृषि सूचना प्रविधि र हाइड्रोपावरलाई विशेष जोड दिन सक्यौं भने अर्थतन्त्रमा राहत पुग्छ,’ उनले भने ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको विकास मोडलबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘नेपालले आर्थिक विकासको मोडेल र योजना निर्माणको प्रक्रिया दशकौंदेखि एउटै अपनाउँदै आएको छ, त्यो सफल भयो/भएन भनेर गम्भीर समीक्षा गर्ने बेला आउँदै छ,’ उनले भने, ‘सामान्य सुधार होइन, अब र्‍याडिकल सुधार गर्नुपर्ने भएको छ ।’ गुणात्मक सुधारतिर लागेनौं भने अहिले भोगिरहेको समस्या समाधान हुन नसक्ने उनको भनाइ छ । परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले पनि दोस्रो चरणको सुधार गर्ने बेला आएको जनाए ।

Page 6
अर्थ वाणिज्य

'मधेशलाई यथेष्ट बजेट, कर्णालीलाई विशेष व्यवस्था’

- कान्तिपुर संवाददाता

प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदबीच सवालजवाफ भयो । करिब १ घण्टा चलेको प्रश्नोत्तरमा १३ सांसदले भाग लिए । सांसदले प्रधानमन्त्रीलाई किसानले मल नपाउादाको पीडा, राष्ट्रिय गौरवका आयोजनाका समस्या, भारतसागको विद्युत् खरिद सम्झौता, सीमा समस्या, कर्णाली, मधेशलगायत प्रदेशमा बजेटमा गरिएको उपेक्षालगायत विषयमा जिज्ञासा राखे । प्रधानमन्त्री दाहालले सांसदका प्रश्नको लिखित जवाफ दिएका थिए । प्रस्तुत छ, शुक्रबार संसद्मा भएको प्रधानमन्त्री–सांसद प्रश्नोत्तरको सम्पादित अंश :


अच्युतप्रसाद मैनाली ः राष्‍िट्रय गौरवका आयोजना बुढीगण्डकी, सुनकोशी–मरिन, काठमाडौं–तराई द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (टाँगिया बस्ती), पूर्वपश्‍िचम रेलमार्गका लागि जग्गा अधिग्रहण र क्षतिपूर्ति तथा तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुआब्जा जनताले चार वर्षदेखि पाउन सकेका छैनन् । बजेट विनियोजन छ/छैन ? बहुचर्चित रेल सेवा सञ्‍चालनबारे सरकारको दृष्‍िटकोण के छ ?
प्रधानमन्त्री ः सरकारले सबै राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गर्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम कम हुने अवस्थामा पनि आवश्यकताअनुसार थप बजेट व्यवस्थापन गर्ने गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी आवमा ‘साइट क्लियरेन्स’ को कार्य सम्पन्न गर्नेतर्फ सरकारले ध्यान दिनेछ । रेल सेवा सञ्चालन गर्नेबारेमा सरकार सकारात्मक छ । साथै राष्ट्रिय गौरवका आयोजना तथा अन्य प्राथमिकता प्राप्त आयोजनाको जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा छ ।

अजयकुमार चौरसिया ः अधिक जनसंख्या रहेको मधेश प्रदेशमा बजेट विनियोजन किन कम भयो ? पर्साको वीरगन्ज सरकारको प्राथमिकतामा किन परेन ? नारायणी उपक्षेत्रीय अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस एवं नारायणी रंगशाला स्तरोन्नतिका लागि कति रकम विनियोजन भएको छ ?
प्रधानमन्त्री ः मधेश प्रदेशमा कम बजेट विनियोजन भएको होइन, संघीयताको मर्मअनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशमा जान्छ । यसका अतिरिक्त संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग आयोजना, पथलैया–वीरगन्ज करिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग तथा सुनकोशी–मरिन डाइभर्सन, वागमती, कमला, चन्द्र नहरलगायतका सिँचाइ आयोजना, विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनालगायत ठूला परियोजना मधेश प्रदेशमै पर्ने र तिनको समयबद्ध कार्यान्वयनका लागि यथेष्ट बजेट विनियोजन गर्ने गरिएको छ । वीरगन्जको विकास सरकारको प्राथमिकतामा छ । नारायणी रंगशालामा आगामी वर्षका लागि १ करोड ५० लाख छुट्याइएको छ । नारायणी अस्पतालका लागि ४१ करोड ३० लाख छ । ठाकुरराम बहुमुखी क्याम्पसका लागि अनुदान जाने व्यवस्था मिलाइएको छ ।

अम्मरबहादुर थापा ः सरकारको नीति तथा कार्यक्रममा कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई विशेष बजेटको व्यवस्था गर्ने भन्नुभएको थियो । बजेट पुस्तिका हेर्दा त्यस्तो बजेट कुनै मन्त्रालयमा देखिएन । त्यो विशेष बजेट कहाँ छ ?
प्रधानमन्त्री ः कर्णाली प्रदेशका लागि लक्षित गरी कर्णाली समृद्धि कार्यक्रम सञ्चालित छ । हिमाली तथा उच्च पहाडी जीविकोपार्जन कार्यक्रमसमेत कर्णाली प्रदेशको माथिल्लो भूभागमा सञ्चालनमा छ । आगामी वर्ष कर्णाली प्रदेशमा सिँचाइ तथा नदी नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था गरिएको छ । कर्णाली करिडोर सडक राष्ट्रिय गौरव आयोजनाका रूपमा निर्माणाधीन छ । राप्ती राजमार्ग, भेरी करिडोर, मध्यपहाडी लोकमार्गको कर्णाली खण्ड र मदन भण्डारी राजमार्गको कर्णाली खण्डका लागि सरकारले प्राथमिकतासाथ बजेट छुट्याएको छ ।

अनिशा नेपाली ः प्रधानमन्त्रीको हालै सम्पन्‍न भ्रमणका क्रममा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको जानकारी आयो । उक्त विद्युत् कुन–कुन आयोजनाबाट के–कति परिमाण र कुन दरमा भारतले खरिद गर्न खोजेको हो ? खरिद सम्झौता कहिलेबाट सुरु हुन्छ र कहिलेसम्मका लागि हो ?
प्रधानमन्त्री ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतसँगको दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भ्रमणकै दौरान भइसकेको छ । अन्तिम हस्ताक्षर यथाशीघ्र हुँदै छ । हाल वर्षायाममा विद्युत् उत्पादन क्षमता करिब २ हजार ८ सय मेगावाट र अधिकतम खपत करिब १ हजार ९ सय मेगावाट (पिक डिमान्ड) छ । आन्तरिक खपतभन्दा बढी भएको ऊर्जा खेर जान नदिने गरी भारतमा विद्युत् निर्यात भइरहेको छ । यसबाट व्यापार घाटा न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुगेको छ । मुलुकभित्रै अधिकतम आन्तरिक विद्युतीय ऊर्जा खपत वृद्धि गर्न सरकारले ऊर्जा खपतसम्बन्धी कार्ययोजना ल्याई त्यसअनुसार काम अघि बढिरहेको छ । आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत् निर्यात गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य छ ।

अम्बरबहादुर रायमाझी ः संसारको ध्यान क्लिन इनर्जीमा गइरहेको छ तर हाम्रो सरकार यसप्रति बेखबर हो कि शक्तिकेन्द्रको स्वार्थप्रति नतमस्तक हो ? बुझ्नै सकिएन । प्रधानमन्त्रीले भारत भ्रमणमा हाम्रो १० हजार मेगावाट क्लिन इनर्जी भारतलाई बेच्ने सम्झौता गर्नुभयो भने उताको पेट्रोल, डिजेल, ग्यास, मट्टीतेलजस्ता उच्च कार्बन उत्सर्जन गर्ने डर्टी इनर्जीको सजिलो पहुँचका लागि भरतपुरदेखि काँकडभिट्टासम्मको पाइपलाइन विस्तार सम्झौता गरेर आउनुभयो । यो नयाँ युगको सुरुवात हो कि परनिर्भरताको तयारी हो ?
प्रधानमन्त्री ः हाल मुलुकमा हाइड्रोपावर, सोलार, बायोग्यासजस्ता स्वच्‍छ ऊर्जाका स्रोतबाट विद्युत् ऊर्जा उत्पादन भइरहेको छ । वर्षायाममा विद्युत् ऊर्जाको मागभन्दा आपूर्ति बढी भइरहेको छ । देशमा विद्युतीय र पेट्रोलियम दुवै ऊर्जाको प्रयोग भइरहेको छ । विद्युत्को प्रयोग बढाउँदै लाने र पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै क्रमशः विस्थापित गर्ने सरकारको नीति हो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग भर्खरमात्र सुरुआत भएको छ । अधिकांश सार्वजनिक तथा निजी सवारीसाधन पेट्रोलिम पदार्थमा निर्भर छन् । सबै सवारीलाई एकै पटक र अहिले नै विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न प्राविधिक रूपमा सम्भव छैन । त्यसैले विद्युतीय ऊर्जाले पेट्रोलियम ऊर्जालाई विस्थापन नगर्दासम्म पेट्रोलियम पदार्थको सहज र दिगो आपूर्तिका लागि पेट्रोलियम पाइपलाइन विस्तार अगाडि बढाइएको हो । यसबाट इन्धन आपूर्ति सुनिश्चित हुन्छ, उपभोक्ता मूल्यमा कमी आउँछ, व्यापारघाटा न्यूनीकरण हुन्छ ।

अर्जुननरसिंह केसी ः कृषिप्रधान देशका किसानले हरेक वर्ष खेतीको समयमा मल नपाएर हाहाकार भोग्नुपरेको छ । जसोतसो उत्पादन गरेका दूध, तरकारी, फलफूल तथा खाद्यान्‍न न्यूनतम मूल्य पनि नपाएर सडकमा फाल्नुपर्ने, अर्कातिर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने विद्यमान किसानद्रोही र अराजक अवस्था कहिलेदेखि अन्त्य हुन्छ ?
प्रधानमन्त्री ः कृषि उपजको बजार प्रणालीमा कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्‍न बालीको सिजनपूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ । दूध उत्पादक कृषकले पाउने न्यूनतम् मूल्य तोकिएको छ भने उखु उत्पादक कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँको हिसाबले अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । तरकारीको बजार प्रणालीमा देखिएका समस्या समाधान गर्न विकेन्द्रीकृत प्रणाली अपनाई प्रदेश सरकार र स्थानीय तहहरूलाई समेत जिम्मेवार बनाउने गरी कार्य भइराखेको छ । बढी उत्पादन भएको नाशवान् कृषि उत्पादन कोल्ड स्टोरमा राख्‍न सक्‍ने गरी पूर्वाधार विकासको कार्य भइरहेको छ ।

 अब्दुल खान ः तराई मधेशमा मलको हाहाकार छ । बिजुली कटौती अत्यधिक छ । सीमा नाकामा जनताले दिनहुँ गाली र पिटाइ खाइरहेका छन् । एक बिघामा खेती गर्नेलाई दुई बोरा युरिया तथा एक बोरा डीएपी मल चाहिन्छ । भारतबाट ल्याउँदा प्रहरीले जफत गर्छ । जनताले कसरी सरकारको अनुभूति गरोस् ?
प्रधानमन्त्री ः रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको छ । ०७९ साउनयता ३ लाख ५१ हजार टन मल आयात भएको छ । त्यसमध्ये ७१ हजार टन विभिन्‍न बिक्री डिपोहरूमा मौज्दात छ । भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी यो महिनाभित्र नेपाल भित्रिने अवस्थामा छ । धान रोप्ने सिजनमा विगतजस्तो मल अभाव हुनेछैन । सुरुमा रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएकामा थप २३ अर्बको स्रोत सुनिश्‍िचत गरी मल आपूर्ति व्यवस्था सुनिश्चित गरिएको छ । मल आयातमा संघीय मन्त्रालय र वितरण कार्यमा प्रदेश तथा स्थानीय तहलाई परिचालन गरिएको छ ।

अमृतलाल राजवंशी ः सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्नुपर्ने कारण के हो ? साथै, लम्पी स्किन रोगको महामारीले १५ हजारभन्दा बढी गाई/भैंसी मर्नुका साथै ३ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् । यो रोगको नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ?
प्रधानमन्त्री ः राष्‍िट्रय दुग्ध विकास बोर्डको कार्यक्षेत्र र मन्त्रालय एवं विभागबाट सम्पादन भइरहेको कार्य समानान्तर प्रकृतिको रहेको र दोहोरोपनासमेत देखिएकाले यसलाई खारेज गरी यससम्बन्धी नियामकीय र प्रवर्द्धनात्मक कार्य मन्त्रालय र विभागबाट सम्पादन हुने व्यवस्था मिलाइनेछ । हाल सार्वजनिक खर्चमा परेको चापसमेतलाई मध्यनजर गरी यो निर्णय लिइएको हो । लम्पी स्किन रोग नेपालमा पहिलो पटक व्यापक रूपमा फैलिएको छ । रोग लाग्न नदिन र लागेका पशुहरूलाई उपचारका लागि संघ, प्रदेश, स्थानीय तह र विभिन्‍न संस्थाहरूमा रहेका पशु सेवा प्राविधिक परिचालन गरिएका छन् । संघबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिवको नेतृत्वमा प्रदेशमा ७ वटा टोली परिचालन गरिसकेको छ ।

अञ्जली श्रेष्ठ ः सदनमा शून्य समय, विशेष समय र आकस्मिक समयमा उठाइएका जनतासँग सरोकार भएका प्रश्नहरूको उत्तर कहिल्यै आउँदैन किन ?
प्रधानमन्त्री ः शून्य समय र विशेष समयमा माननीय सदस्यहरूले उठाएका विभिन्न प्रश्नमा सरकार संवेदनशील भई तिनको जवाफ नियमित रूपमा दिइरहेको छ । सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिने जिम्मेवारी र उत्तरदायित्वबाट सरकार कहिल्यै पछि हट्दैन । जनसरोकारका विविध विषयलाई उचित सम्बोधन गर्दै तथा विकास निर्माण कार्यलाई गति दिँदै सरकार र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउन सरकार दृढ संकल्पित छ ।

अमरेशकुमार सिंह ः २०६२/६३ देखि नै मधेशका २० जिल्लामा बजेट विनियोजन कम भएको छ । यसको कारण के हो ? दोस्रो कुरा, संविधानमा समावेशिताको ग्यारेन्टी गरिएको छ तर यता राज्यको सम्पूर्ण संरचना (सुरक्षा निकाय, प्रशासनिक निकाय, न्यायपालिका, कूटनीतिक क्षेत्र) असमावेशी हुँदै गइरहनुको कारण के हो ?
प्रधानमन्त्री ः मुलुकको समग्र विकासका निम्ति सरकारले लिएका नीतिगत प्राथमिकता र विभिन्न विषय क्षेत्रको विकासका लागि गर्नुपर्ने लगानी आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ । मानव विकास सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोतसाधनको न्यायपूर्ण तरिकाले छुट्याइएको छ । राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध र प्रयत्नशील छ ।

अशोककुमार चौधरी ः भारततर्फ ४ हजार २ सय ६२ स्थानमा सीमास्तम्भ मर्मत गर्नुपर्नेछ, १५३३ सीमास्तम्भ हराएको र चीनसँग दुईवटा सीमास्तम्भ बनाउनुपर्ने महालेखाको प्रतिवेदन–०७९ मा छ । राष्ट्रिय अखण्डता, स्वाधीनता, राष्ट्रियतासँग जोडिएको सीमा रक्षा, निर्माण र मर्मतका लागि आवश्यक बजेट विनियोजन नगरेर सरकारले राष्ट्रियता कमजोर बनाउन लागेको हो ?
प्रधानमन्त्री ः नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाका लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल सुदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरूको नियमित मर्मतसम्भार गर्दै जाने, बोर्डर आउटपोस्टहरूको सुदृढीकरण र थप स्थानमा आउटपोस्ट निर्माण गर्दै लैजाने विषय प्राथमिकतामा छ । सोहीबमोजिम स्रोतसाधन र जनशक्ति व्यवस्था गरिएको छ ।

अम्बिका बस्नेत ः गोकर्णेश्वर नगरपालिका–१ शिवपुरी राष्ट्रिय निकुञ्जभित्र मानवबस्ती पनि छ । त्यहाँभित्र साथीभाइ, इष्टमित्र, नातागोता आउँदा शुल्क तिर्नुपर्छ । त्यही क्षेत्रभित्र हेलम्बु र गोसाइँकुण्ड जाने बाटो पनि छ । पहिले मन्त्रिपरिषद्बाट शुल्क नलाग्ने भनी दुई चोटि निर्णय भए पनि कार्यान्वयन भएन । त्यही निकुञ्ज भएर टोखा, छहरे हुँदै नुवाकोट जाँदा शुल्क लाग्दैन । एउटै निकुञ्जभित्र यस्तो विभेदकारी नीति किन ?
प्रधानमन्त्री : यो समस्याको समाधान गर्न सरकारले पहल गरिसकेको छ ।

सांसद–प्रधानमन्त्री प्रश्नोत्तर

-सबै सवारीसाधनलाई एकै पटक र अहिले नै विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न प्राविधिक रूपमा सम्भव छैन
-७१ हजार मेट्रिक टन मल विभिन्‍न बिक्री डिपोहरूमा मौज्दात छ, धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने छैन
-आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत् निर्यात गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य छ

Page 7
खेलकुद

'फाइनल’ जस्तै खेल

- हिमेश

(बेंगलुरु)
भारतीय भूमिमा भारतकै सामना । साफ च्याम्पियनसिप २०२३ ले जुराएको यो यस्तो खेल हुनेछ, जसले प्रतियोगितामा नेपालको भाग्य कोर्ने छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ठीकै भनेका छन्, यो ‘फाइनल’ जस्तै खेल हो ।
डर छ, हारसँगै प्रतियोगितामा नेपालको चुनौती समाप्त हुन सक्नेछ । आफूअनुकूल नतिजा निकाल्ने हो भने मात्र नेपालले अन्तिम खेलमा पाकिस्तानको सामना गर्दा त्यसको कुनै अर्थ रहनेछ । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ३ अंक बटुल्दै शीर्ष दुई स्थानमा छन् । शनिबारको पहिलो खेलमा कुवेतले पाकिस्तानको सामना गर्नेछ । त्यसपछि नेपाल भारतसँग भिड्ने छ । कुवेतले पाकिस्तानविरुद्धको खेलमा कस्तो नतिजा निकाल्ने हो, त्यसको कुनै न कुनै प्रभाव साँझ हुने खेलमा पर्नेछ । प्रचलित भाषामा भन्दा नेपालको स्थिति ‘गर या मर’ जस्तै छ ।
नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो । त्यसपछि भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । नेपाली फुटबल इतिहासकै सर्वाधिक महत्त्वको खेल हुन सक्नेछ भारतविरुद्ध । यसको स्पष्ट कारण छ । पछिल्लो समय धेरैले भन्ने गरेको तथ्य हो, भारतीय फुटबलको स्तर बढेको छ । तर, नेपाली फुटबलको दृष्टिकोणले भन्दा एउटा दाबी के गर्न सकिन्छ भने नेपालले जति–जति बेला भारतको सामना गर्छ, राम्रो चुनौती पेस गर्छ । भारतले मान्छ मान्दैन, त्यो आफ्नो स्थानमा छ तर फुटबलमा नेपालको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भन्नु नै भारत हो । त्यस अर्थमा नेपाली फुटबल कहाँ छ र भारतीय फुटबल कहाँ पुगिसकेको छ । यस खेलमा वास्तवमै यसको ‘रियालिटी चेक’ हुनेछ । श्री कान्तिरभा स्टेडियममा हुने यो खेलले धेरै सन्देश दिने निश्चित छ ।
यो खेलका निर्णायक मोड के कस्तो हुनेछ त ? भारतविरुद्ध नेपाल खेलको सम्भावित ५ पक्ष यी हुन् ः

भारतीय भूमिमा जितविहीन
नेपालले अहिलेसम्म समग्रमा २४ पल्ट भारतको सामना गरेको छ । त्यसमध्ये नेपाल तीनपल्ट विजयी छ भने चार बराबरी रहेको छ । बाँकी १७ खेलमा नेपाल पराजित छ । त्यस अर्थमा भारतमाथि पूर्णतः हाबी छ । साफ च्याम्पियनसिपकै मात्र कुरा गर्ने हो भने स्थिति अझ नाजुक छ । यी दुई टिमबीच यो खास प्रतियोगितामा आठ खेल भएका छन् । त्यसमा नेपाल एकै खेलमा मात्र विजयी छ । बाँकी सात खेलमा नेपाल पराजित छ । अझ नेपालको भारतसँग उसकै भूमिमै खेलेका खेलमध्ये जितविहीन अवस्था छ । यस्तो नेपाल र भारतबीचको खेल पनि ८ छ । त्यसमा २ बराबरी र ६ हार छन् । भनेपछि नेपालले शनिबारको खेलमा भारतलाई हराउने हो भने ऐतिहासिक तथ्यविरुद्ध खेल्नुपर्नेछ ।

लयमा रहेका सुनील
भारतीय टिमका कप्तान हुन्, सुनील क्षेत्री । नेपाली भाषी सुनील अहिले खुबै लयमा छन् । पाकिस्तानविरुद्ध उनले ह्याट्रिक गरे । आईएसएलमा बेंगलुरुबाटै खेल्ने सुनील यस क्षेत्रमा खुबै लोकप्रिय छन् । भारत र पाकिस्तानबीचको खेल हेर्न कान्तिरभामा २२ हजार दर्शक थिए । सबैको मुखमा झुन्डिएको एउटै नाम थियो सुनिल र सुनिलमात्रै । उनका समर्थक भने ‘क्षेत्री क्षेत्री’ भनेर नारा लगाउने गर्छन् । विश्व फुटबलमा अहिले तत्काल लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको जुन ‘क्रेज’ छ, लगभग त्यस्तै लोकप्रियता सुनीलको बेंगलुरुमा छ । पाकिस्तानविरुद्धको ह्याट्रिकपछि सुनीलले भारतका लागि गरेको गोलसंख्या पनि ९० पुगेको छ । अहिले सक्रिय खेलाडीमध्ये आफ्नो देशका लागि सर्वाधिक गोल गर्नेमा सुनील तेस्रो स्थानमा छन् । संयोगले मेसी र रोनाल्डो पछाडि उनै छन् ।

भारत आफैं उत्कृष्ट लयमा
सुनीलमात्र लयमा छैनन् । उत्कृष्ट लयमा भारतीय टिम आफैं छ । भारत पछिल्ला ७ खेलमा विजयी छ । सात खेलमा भारतले कुनै गोल पनि खाएको छैन । यो त वास्तवमै गजब लय हो । भारतीय टिमका सहायक प्रशिक्षक महेश गोली मान्छन्, आफ्नो टिम वास्तवमै लयमा छ । त्योभन्दा पनि उल्लेखनीय पक्ष हो, यी सात खेल भारतीय ‘क्लिन सिट’ हो । यसैक्रममा भारतले भर्खर इन्टरकन्टिनेन्टल कप जितेको छ । तर, तिनै प्रशिक्षक गोली मान्छन्, प्रतिद्वन्द्वीका रूपमा नेपाललाई सम्मान गर्नुपर्छ । सम्मान के अर्थमा भन्दा नेपालले अधिकांश समय भारतको सामना गर्दा बलियो चुनौती नै पेस गर्नेछ । पाकिस्तानविरुद्धको खेलपछि गोलीले भनेका थिए, ‘मलाई पूरा विश्वास छ, भारत र नेपालबीचको खेल खुबै रोमाञ्चक हुनेछ । म यो खेलको प्रतीक्षामा छु ।’

एनिसको भारतीय अनुभव
एनिससँग भारतीय भूमिमा खेल्दाको बाक्लो अनुभव छ । उनी नेपाल आउनुअगाडि तीन वर्ष भारतमै थिए । उनकै नेतृत्वमा गोकुलम केरेलाले लगातार दुईपल्ट आई–लिगको उपाधि जितेको छ । उनले आईएसएलमा एक सिजन नर्थइस्ट युनाइटेडको जिम्मेवारी सम्हालेका थिए छोटो समयका लागि । उनले भनेका छन्, ‘मलाई भारतीय फुटबलको अनुभव छ भन्दा हुन्छ । मैले तीन वर्ष जतिको समय भारतीय फुटबलमा बिताएको छु । त्यसैले भारतीय फुटबलसँग मेरो भावनात्मक सम्बन्ध पनि छ ।’ उनी मान्छन्, वास्तवमै नेपालका लागि भारतविरुद्धको खेल ‘फाइनल’ जस्तै हुनेछ । उनले आफ्नो खेल रणनीति आक्रामक खेल्ने नै रहेको हुनाले भारतविरुद्ध पनि यस्तै नीति हुने बताए । यसको अर्थ हो, नेपालले रक्षापंक्तिमा जोड दिएर खेल्ने छैन, आक्रामक नै रहनेछ ।

अञ्जन कीर्तिमान नजिक
नेपालले भारतको सामना गर्दाका एक प्रमुख खेलाडी अञ्जन विष्ट रहनेछन् । अझ नेपालले सबैभन्दा विश्वास गर्ने खेलाडी भन्नु नै उनी नै हुन् । कुवेतविरुद्ध उनले गरेको गोल १२ औं रह्यो । उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा दोस्रो स्थानमा छन् । उनले भन्दा बढी गोल दुई खेलाडीमा हरि खड्का र नीराजन रायमाझी छन् । उनीहरू दुवैले समान १३ गोल गरेका छन् । नेपालले यसपल्टको साफ च्याम्पियनसिपमा दुई खेल खेल्न बाँकी छ । सम्भावना छ अञ्जनले यिनै दुई खेलमा १३ गोलको उपलब्धि चुम्न सक्नेछन् । अझ त्यो भन्दा बढी पनि । यही कारणका लागि अञ्जन राम्रो खेल्न प्रेरित हुनेछन् । नेपालको सबै खाले सम्भावना जीवन्त राख्न अञ्जनले अब्बल दर्जाको प्रदर्शन गर्नु आवश्यक रहनेछ । प्रशिक्षक एनिस मान्छन्, यसका लागि अञ्जन सक्षम पनि छन् ।

खेलकुद

दुवैलाई जित्नैपर्ने दबाब

- विनोद पाण्डे

(काठमाडौं)
नेदरल्यान्ड्सविरुद्ध विश्वकप छनोट क्रिकेटमा खेल्दा नेपालले एउटा तथ्य राम्रोसँग बुझेको छ, विजय हात पारेमा सुपर सिक्स प्रवेश लगभग निश्चित । समूह चरणमा शनिबार
आफ्नो अन्तिम खेल खेल्दा नेपाली टोली यहि परिस्थितिअनुसार खेल्ने पक्का छ ।
जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ । नेदरल्यान्ड्स र वेस्ट इन्डिज तथा घरेलु टोली जिम्बावे र अमेरिकाबीच सोमबारको खेलपछि समूह ‘ए’ को खेल टुंगिने छ ।
तर, त्यसअगाडि नै नेपाल र नेदरल्यान्ड्सबीचको खेलबाट सुपर सिक्समा पुग्ने एक टोलीको लगभग तय हुनेछ । जसले यो खेल जित्छ त्यही नै अर्को चरणमा पुग्नेछ । नेदरल्यान्ड्सको हकमा नेपाललाई पराजित गरेमा टोलीको सुपर सिक्स यात्रा पक्का नै हुनेछ भने नेपालको हकमा जित पाए पनि नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीचको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।
पहिलो खेलमा जिम्बावेसँग पराजित भए पनि अमेरिकासँग खेलमा विजय हात पारेपछि नेदरल्यान्ड्स राम्रो रनरेटका आधारमा नेपाललाई पछाडि पार्दै समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको थियो । पहिलो दुवै खेलमा विजय हात पार्दै वेस्ट इन्डिज र जिम्बावे शीर्ष दुईमा छन् । नेपाल पनि पहिलो खेलमा जिम्बावेसँग नै पराजित भएको थियो । त्यसपछि अमेरिकामाथि विजय हात पारेको नेपाल अघिल्लो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको हो ।
जिम्बावेविरुद्ध ३१५–६ को स्कोर बनाए पनि नेदरल्यान्ड्स पराजित भएको थियो । इंग्लिस काउन्टी क्रिकेटसँगको प्रतिबद्धताका कारण फ्रेड क्लासेन, पाल भान मिकेरेन, कोलिन अकरमन र ब्रान्डन ग्लोभर नेदरल्यान्ड्स टोलीमा छैनन् । गत वर्ष नेदरल्यान्ड्सले ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गर्दा यी खेलाडी डच टोलीका पहिलो पाँच बलर थिए । अर्का दुई अनुभवी सिमर शेन स्नाटर र टिम भान डेर गुगटेनलाई पनि काउन्टी टोलीले जिम्बावे जान रोकेको छ ।
उनीहरूको अनुपस्थितिमा पनि नेदरल्यान्ड्सले अघिल्लो खेलमा अमेरिकालाई २११–८ को स्थितिमा रोकेको थियो । कप्तान स्कट एड्वार्डसले अविजित ६७ रन बनाउँदै नेदरल्यान्ड्सलाई जित दिलाएका थिए । जिम्बावे पुग्नुअघि नेदरल्यान्ड्स र नेपाल दुवै दक्षिण अफ्रिकामा प्रशिक्षणका लागि पुगेका थिए । त्यहाँ खेलिएको अभ्यास खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५ विकेटले पराजित गरेको थियो ।
तर, नेपालले जिम्बावेमा विश्वकप छनोटमा उच्च प्रदर्शन गर्दै आएको छ । जिम्बावेसँग २ सय ९० रन बनाएको नेपालले अमेरिकालाई दोस्रो खेलमा २ सय ७ रनमा अलआउट गरेको थियो । वेस्ट इन्डिजविरुद्धको अघिल्लो खेलमा ३ सय ४० रनको विजय लक्ष्य पछ्याउनेक्रममा नेपालले २ सय ३८ रन जोडेको थियो ।
नेपालले सन् २०१८ मा जिम्बावेमै भएको पछिल्लो विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न नेपाललाई नेदरल्यान्ड्सले नै दुई खेलको शृंखलाका लागि निम्तो गरेको थियो । त्यसक्रममा एमस्ट्रार्डममा नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ को अगस्ट १ मा खेल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो । तर, नतिजा नेपालको विपक्षमा ५५ रनले आएको थियो । अर्को खेलमा पारस खड्काले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले नेदरल्यान्ड्समाथि १ विकेटको विजय हात पार्दै शृंखला १–१ को बराबरीमा टुंग्याएको थियो । त्यसमा नेपालका वर्तमान कप्तान रोहित पौडेलले ‘डेब्यु’ गरेका थिए ।

खेलकुद

प्रशिक्षणलाई गल्फ टोली भारततिर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– १९ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली गल्फ टोली शनिबार भारत जाने भएको छ । एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुँदै छ । तयारीका लागि नेपाली टोली वैदेशिक प्रशिक्षणमा जान लागेको हो ।
खेलाडीमा पुरुषतर्फ शुक्रबहादुर राई, सुवास तामाङ, सद्भाव आचार्य र युवराज भुजेल तथा महिलातर्फ कश्मिरा शाह र सुष्मा सिग्देल छन् । एमेच्योर खेलाडीद्वय सुवास र सद्भावबाट उच्च अपेक्षा गरिएको छ । सुवास विश्व एमेच्योर वरीयतामा १४० औं र एसियामा २० औं स्थानमा छन् । उनी विश्व एमेच्योर वरीयतामा ६ सय २४ औं स्थानमा र जुनियर वरीयतामा शीर्ष १० भित्र छन् ।
एसियाली खेलकुदमा पहिलो पटक व्यावसायिक खेलाडी राख्ने प्रावधान गरिएको छ । नेपाली टोलीको प्रशिक्षकमा दीपक आचार्य छन् । नेपाली टोलीले बेंगलुरुको कोलहारमा तरुण देसाई गल्फ एकेडेमीमा रहेर प्रशिक्षण गर्नेछन् ।
हाल जर्मनीको ड्रेस्सडेनमा प्रशिक्षणरत शुक्र एक महिनापछि बेंगलुरु पुग्नेछन् । यहीक्रममा सुवास र सद्भावले जुलाई १५ देखि १९ सम्म सिंगापुर एमेच्योर ओपनमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरू फर्किएर पुनः बेंगलुरु जानेछन् । नेपाली टोली सेप्टेम्बर २० सम्म बेंगलुरुमै बसेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको प्रशिक्षक एवं नेपाल गल्फ संघका सदस्य दीपक आचार्यले जनाए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार नेपाली टोलीको बिदाइ गरे । उनले यसपालि एसियाडमा गल्फबाट पदक आस गरिएको बताए ।
गल्फ संघका अध्यक्ष टासी घलेले भारतका तरुण देसाईलाई एसियाली खेलकुदसम्म विदेशी प्रशिक्षकको रूपमा राख्न राखेपसँग स्वीकृति मागिएको बताए । नेपाली खेलाडी देसाईकै एकेडेमीमा प्रशिक्षण लिन भारत जान लागेका हुन् ।

खेलकुद

दीपक र सिर्जनालाई एनओसी अवार्ड

काठमाडौं (कास)– धावक दीपक अधिकारी र पारा तेक्वान्दो खेलाडीकी सिर्जना घिसिङले एनओसी अवार्ड २०२३ मा उत्कृष्ट खेलाडी बनेका छन् ।
ओलम्पिक दिवस (जुन २३) को अवसरमा राजधानीमा शुक्रबार आयोजित समारोहमा नौ विधामा एनओसी अवार्ड प्रदान गरिएको थियो । त्यसमा एसियाली क्रसकन्ट्री दौडमा स्वर्ण पदक जितेका दीपकले पुरुषतर्फ र विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगिता पदक जितेकी सिर्जनाले महिलातर्फ अवार्ड जितेका थिए । १३ औं सागका कांस्य विजेता दीपकले नवौं राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेका थिए । वर्ल्ड पारा तेक्वान्दो ग्राँपि फाइनल जी १० प्रतियोगिता स्वर्ण जितेकी सिर्जनाले बहराइनमा भएको एसियाली पारा युथ र इरानमा चौथो डब्लुटी प्रेसिडेन्ट कप एसियन रिजनमा रजत जितेकी थिइन् ।
उनका प्रशिक्षक कविराज नेगीले उत्कृष्ट प्रशिक्षकको अवार्ड थापे । राष्ट्रिय पारा तेक्वान्दो टिमलाई प्रशिक्षण दिँदै आएका नेगीले थुप्रै पदक दिलाएका छन् । महिलातर्फ टेनिसकी रेणुदेवी कोन्डा उत्कृष्ट प्रशिक्षक भइन् । संघतर्फ उत्कृष्ट संघको अवार्ड बक्सिङले प्राप्त गर्‍यो । पछिल्लो समय बक्सिङको सक्रियता बढ्दो छ ।
मिडियातर्फ चार जनाले एनओसी अवार्ड पाएका छन् । गोरखापत्रका प्रजित शाक्यले छापा, शिलापत्रका सरोज तामाङले मल्टिमिडिया, प्रज्वल शाक्यले भिजुअल मिडिया र सुनीता डंगोलले स्पोर्ट्स फोटोपत्रकारको अवार्ड प्राप्त गरेका छन् । सबै अवार्ड विजेताले ५० हजार रुपैयाँ पाएका छन् । ओलम्पियन रघुराज वन्तको नेतृत्वमा रामकृष्ण महर्जन, सुधा सेन, सिंहबहादुर श्रेष्ठ, रिता राई, सुजिता श्रेष्ठ, निरञ्जन राजवंशी, इन्दिरा निरौला र हरिहर श्रेष्ठको जज प्यानलले अवार्ड विजेताको चयन गरेको थियो ।
नेपाल ओलम्पिक कमिटीले गत वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको हो । एनओसीले ओलम्पिक दिवसका अवसरमा शुक्रबारै विविध कार्यक्रम गरेको थियो । कार्यक्रममा बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरे भने विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरे। सो अवसरमा नेपालबाट विभिन्न संस्करणको ओलम्पिकमा सहभागिता जनाएका ओलम्पियनलाई सम्मान गरिएको थियो ।

Page 9
कोसेली

सुर–तालमा पनि एआईको उदय

- सजना बराल

 

विश्व संगीतका सर्वकालीन महान् गायक जोन लेनन आफ्नो प्रतिष्ठित गोलो चस्मा लगाएर मन्द मुस्कानसहित स्टेजमा देखा पर्छन् । अमेरिकी गायिका एरियाना ग्रान्डी पञ्जावी गीत गाउँदै छिन् । र्‍याप विधाका हस्ती कान्य वेस्ट काउब्वाई
ह्याट लगाएर कन्ट्री सङ गुनगुनाइरहेका छन् । आजभन्दा १४ वर्षअघि नै दिवंगत माइकल ज्याक्सनको आवाज अहिलेका जल्दाबल्दा गायक विकेन्डका गीतको कभर भर्सनमा सुनिन्छ । यो सबै वास्तविकता होइन, तर आर्टिफिसियल इन्टेलिजेन्स
(एआई) ले सम्भव बनाएका पछिल्ला सांगीतिक गतिविधि हुन् । अब कुनै दिन हाम्रै स्वरसम्राट् नारायण गोपाल वा स्वरकिन्नरी अरुणा लामाको आवाजमा एआईले निर्माण
गरेको नयाँ गीत सार्वजनिक भए आश्चर्य नमाने हुन्छ ।
एआईको बढ्दो प्रयोगलाई सम्बोधन र नियमन कसरी गर्ने ? यस विषयमा विश्वभरका सरकारहरू उल्झनमा रहेकै बेला हालै मात्र हलिउडका ११ हजार ५ सयभन्दा धेरै लेखक एक सय दिनसम्म हडतालमा उत्रिए । लेखकहरूले एआईका कारण रोजीरोटी गुम्न सक्ने जोखिम सम्बोधनको माग गर्दै काम ठप्प पारेका थिए । सो घटनाले एआईको
बढ्दो हस्तक्षेपका कारण पेसाकर्मीहरू कति असुरक्षित महसुस गरिरहेका छन् भन्ने देखाउँछ । रचनात्मक क्षेत्रसँग सम्बन्धित पटकथा लेखक मात्रै होइन, फोटोग्राफर, चित्रकार, कवि, गीतकारजस्ता कला र साहित्य सिर्जनामा आबद्ध जो कोही एआईलाई लिएर सशंकित छन् । औसत कविले जत्तिको ठीकठाक कविता एआईले लेखिदिने र अब्बल फोटोग्राफरले खिच्न सक्नेभन्दा आकर्षक तस्बिर एआईले सिर्जना गरिदिन थालेपछि यो किसिमको अन्योल अस्वाभाविक होइन । अझै अचम्म त के छ भने संगीत सिर्जनाजस्तो साधना, भावना अभिव्यक्ति र लगाबमा आधारित भनिएको क्षेत्रमा पनि एआई प्लाटफर्महरूले सजिलै धाक जमाउन थालेपछि यो विषय बहसको केन्द्रमा छ ।
एआईले गीतका शब्द/संगीत तयार पार्नेदेखि संगीत उत्पादन र दिवंगत स्रष्टाको स्वरमा नयाँ गीत बनाउनेसम्मका काम गरिरहेको छ । यही वर्षको अन्त्यसम्ममा जोन लेननकै जस्तो आवाजमा एआईले बनाएको गीत सार्वजनिक हुँदै छ । यसबारे लेननको ब्यान्ड ‘द बिटल्स’ का अर्का संस्थापक सदस्य सर पल म्याकर्टनीले ‘बीबीसी रेडियो फोर’ सँग हालैको अन्तर्वार्तामा गीत तयार गर्दाको अनुभव सुनाएका थिए ।
म्याकर्टनीका अनुसार, लेननको पुरानो डेमो भर्सनबाट उनको ‘आवाज झिकेर’ एआईले सोही आवाजमा गीत तयार गरिदिएको छ । लेननले गाउन बाँकी रहेका हरफ पनि एआईले उनैको जस्तो स्वरमा पूरा गरिदिएको छ । ‘हामीले हालै मात्र गीत तयार गरेर सक्यौं र गीत यही वर्ष सार्वजनिक हुनेछ,’ पलले भनेका छन्, ‘यसको बोल त्यति राम्रो थिएन । त्योसहित अन्य केही भाग परिमार्जन गर्नुपर्‍यो, तर यसका पंक्ति सुन्दर थिए र मुख्य कुरा, यसमा जोनको आवाज थियो ।’ पलका अनुसार, यो बिटल्सको नयाँ र अन्तिम सिर्जना हुनेछ । लेननको शब्द/संगीतमा बनेको ‘नाउ एन्ड देन’ बोलको अधुरो गीतलाई एआईको सहाराले पूरा गरिएको हुन सक्ने प्रशंसकहरूले अनुमान गरेका छन् ।
सन् १९७८ को कुनै एक दिन, फुर्सदिलो समयमा पियानो बजाउँदै लेननले बुमबक्स अर्थात् क्यासेट प्लेयरमा एक/दुइटा गीतका आधाउधी टुक्रा रेकर्ड गरेका रहेछन् । आजभन्दा ४५ वर्षअघि रिलवाला चक्कामा घरमै रेकर्ड भएको उक्त गीत साउन्ड क्वालिटीका हिसाबले गतिलो हुन सक्ने अपेक्षा गर्न सकिँदैन । त्यसमाथि उनको कोठामा बिजुलीका तार बिग्रिँदा आउने आवाजका कारण रेकर्डिङमा प्रशस्त न्वाइज (प्रदूषण) थियो । तिनै किरिङमिरिङ सुनिने गीत अहिले लेननकै आवाजमा निर्माण भई सार्वजनिक हुने चरणमा छ ।
सन् १९८० मै एक सनकी मानिसको गोली प्रहारबाट लेननको मृत्यु भइसक्यो । तर, उनैको आवाजमा पुनः रेकर्ड कसरी गरियो ? हो, यहीँनिर एआईको मद्दत लिइएको पलले जनाएका छन् । लेननले न्युयोर्कस्थित आफ्नो अपार्टमेन्टमा गुनगुनाएका गीति खेस्रालाई कस्टमाइज्ड एआई टुलले सरसफाइ गरियो । त्यसका लागि एआईलाई ‘यो पियानो हो’, ‘यो गायकको स्वर हो’ र ‘यो न्वाइज हो’ भनेर चिनाइएको थियो । एआईले पियानो, स्वर र पृष्ठभूमिको ध्वनि पहिल्याउन सकेपछि त्यसबाट स्वर मात्रै निकालेर दिन भनियो । एआईले बाँकी कुरा छोडेर लेननको आवाज सटक्क झिकिदियो ।
यही प्रविधि प्रयोग गरेर सन् २०२२ को कन्सर्टमा पलले लेननसँग स्टेजमै युगल गायनसमेत गरेका थिए । ‘आई ह्याभ गट अ फिलिङ’ गीतको स्थायी पलले गिटार बजाउँदै स्टेजमा उभिएर गाए भने आफ्नो आइकनिक गोलो चस्मासहित मन्द मुस्कानमा स्क्रिनमा देखिएका लेननले अन्तरा प्रस्तुत गरे । पल र जोनलाई एकसाथ स्टेजमा गाएको देखेर दर्शकहरू भावुक र प्रभावित भएको भिडियो अहिले पनि इन्टरनेटमा भेटिन्छ । ‘आज मसँग एउटा सानो विशेष चिज छ,’ पलले जोनसँग गाउनुअघि भनेका थिए, ‘जोन र म सँगै गाउँदै छौं । मलाई थाहा छ, यो भर्चुअल हो तर हेर्नुस्, उनी जोन हुन् । हामी फेरि सँगै गाइरहेका छौं, यो मेरा लागि विशेष क्षण हो ।’
वेभनेट भन्ने गुगलको डिपमाइन्डमा आधारित रहेर पुनःसिर्जना गरिएको भनिएका बिटल्सका गीत बनाइदिनेजस्तै सयौं एआई प्लाटफर्महरू अहिले बजारमा उपलब्ध छन् । घरमै बसेर आफ्नै कम्प्युटरमार्फत मौलिक संगीत बनाइदिनेदेखि संगीतको थोरै ज्ञान हुनेलाई आफैंले विभिन्न सांगीतिक यन्त्रका धुनहरू मिसाएर संगीत सिर्जना गर्नसमेत सकिने वातावरण यी प्लाटफर्महरूले उपलब्ध गराउँछन् । केही समयअघिसम्म कुनै मौलिक संगीत चाहिँदा अनलाइनमा सर्जकसँग कपिराइट खरिद गर्नुपर्ने स्थिति रहेकोमा अहिले आफ्नो चाहना टाइप गरेर एआईलाई सुनाएकै भरमा संगीत बनाएर प्रयोग गर्न सकिने अवस्था आइसकेको छ । यसले पडकास्ट, भिडियोदेखि अन्य शैक्षिक सामग्रीलाई चाहिने गीत/संगीत बनाउन सहज बनाइदिएको छ ।
एम्पर म्युजिक नामक एआई प्लाटफर्मले संगीतको कुनै विशेष जानकारी नभएकाहरूलाई पनि सर्जक बनाइदिन सक्छ । पहिले नै रेकर्ड गरिएका स्याम्पलहरूबाट प्रयोगकर्ताको मागअनुसार संगीत बनाइदिएपछि यो टुलले ती संगीतमा परिवर्तन र थपघट गर्ने सुविधासमेत दिन्छ । हलिउड चलचित्रका संगीत सिर्जनामा काम गरिसकेका ड्रयु सिल्भरस्टेनलगायत सर्जकहरूले स्थापना गरेको यो प्लाटफर्म पडकास्ट, भिडियो गेमहरू र छोटो फिल्महरूमा संगीत बनाउनका लागि बढी मात्रामा प्रयोग हुने गरेको छ ।
एआई संगीत सिर्जनाको क्षेत्रमा अर्को चलेको प्लाटफर्म हो, ऐभा । यो टुल शास्त्रीय, पपलगायत विभिन्न विधाका संगीतहरूको ठूलो डेटासेटको तालिममा आधारित छ । यसले पनि जुनसुकै विधाको संगीत तुरुन्तै बनाउने र आवश्यकताअनुसार सम्पादन गर्ने सुविधा दिन्छ । लाइसेन्स वा बौद्धिक सम्पत्तिको अधिकारको चिन्ता नगरीकनै नयाँ धुन बनाउन सकिने यो स्टार्टअपको स्थापना सन् २०१६ मा भएको हो । अमेरिका र युरोपका कतिपय देशमा यसलाई मान्यता दिइसकिएको छ । यस्ता प्लाटफर्महरू असंख्य छन्, जस्तो कि साउन्डफुल, इक्रेट म्युजिक, साउन्डड्र, बुमी, लाउडली आदि । च्याटजीपीटी निर्माता ओपनएआईले बनाएको म्युजनेटलगायत संगीत सिर्जना गर्ने एआई प्लाटफर्महरू पनि बजारमा आइसकेका छन् ।
गुगलले समेत म्युजिकएलएम नामक आफ्नै एआई संगीत प्लाटफर्म सार्वजनिक गरिसकेको छ । फेसबुकको प्यारेन्ट कम्पनी मेटाले म्युजिकजेन नामक टेक्स्ट–टु–म्युजिक जेनेरेटर विकास गरिसकेको बताइन्छ । विश्लेषकहरूले यी एआई साधन र प्लाटफर्महरू धेरैजसो हाललाई ठीकठाक वा कामचलाउ भएजस्तो देखिए पनि भोलिका दिनमा यी असाध्यै सशक्त बन्ने बताइरहेका छन् । हजारौंदेखि लाखौं घण्टासम्मको धुन र सांगीतिक उदाहरणमा आधारित भएर यी एआई टुल अझै बलियो बन्दै जाने र कालान्तरमा संगीत उत्पादन व्यवसायलाई नै प्रभावित गर्ने विज्ञहरूको अनुमान छ ।
संगीत विज्ञहरूले भविष्यवाणी गरेका कतिपय घटनाहरू त अहिले नै व्यवहारमा आइसकेका छन् । एआईका कारण अमेरिकी संगीत हस्ती ड्रेकका नाममा हालै मात्र एउटा यस्तै घटना भयो । घोस्टराइटर ९७७ नामक एक टिकटक प्रयोगकर्ताले पहिले टिकटकमा र त्यसपछि एप्पल म्युजिक, अमेजन म्युजिक, साउन्डक्लाउड, स्पटिफाइ, युट्युबसमेत अन्य स्ट्रिमिङ प्लाटफर्महरूमा अप्रिल ४, २०२३ मा सार्वजनिक गरिदिएको ‘हर्ट अन माइ स्लिभ’ बोलको गीत एकाएक भाइरल बन्यो । ड्रेक र विकेन्ड नामक क्यानडेली संगीत हस्तीहरूको भनिएको उक्त गीत अप्रिल १७ मा युनिभर्सल म्युजिक ग्रुपले ‘जेनेरेटिभ एआईको प्रयोगबाट सांगीतिक उल्लंघनमार्फत बनाइएको’ भन्दै हटाइदियो ।
गीत हटाउनुअघि स्पटिफाइमा ६ लाख, टिकटकमा डेढ करोड र युट्युबमा झन्डै ३ लाख पटक स्ट्रिम भइसकेको थियो । हटाएपछि अनअफिसियल भन्दै ट्वीटरमा रिलिज गरिएको सोही गीतमा लगभग ७० लाख भ्युज आएको देखिन्छ भने बीबीसीले गरेको एक अनुमानमा घोस्टराइटरले स्पटिफाइबाट मात्रै झन्डै २ हजार डलर आम्दानी गरेको हुन सक्ने बताएको छ । कपिराइट विवादबाट हटाउनुघि १० हजार डलर हाराहारीमा आम्दानी गरेको हुन सक्ने मानिएको उक्त गीतमा आधारित सयौं टिकटक भिडियोहरू अहिले पनि उपलब्ध छन् । एआईको प्रयोगले तयार पारिने यस्ता फेक डुएट (नक्कली युगल गायन) पछिल्लो समय प्रशस्त सार्वजनिक हुन थालेका छन् ।
ड्रेकसँग जोडिएको सो घटनापछि ‘फाइनान्सियल टाइम्स’ मा प्रकाशित एक समाचार अनुसार, संसारको सबैभन्दा ठूलो संगीत कम्पनी युनिभर्सलले स्पटिफाइ, एप्पल म्युजिक लगायतका स्ट्रिमिङ सेवा प्रदायकहरूलाई एआई प्लाटफर्म र कम्पनीहरूले प्राप्त गर्दै आएको संगीत र धुनहरूमा अबउप्रान्त पहुँच नदिन आधिकारिक रूपमै अनुरोध गरेको थियो । स्ट्रिमिङ सेवा प्रदायकहरूकै संकलनमा आधारित रहेर अधिकांश एआई कम्पनीहरूले आफ्ना सफ्टवेयरलाई गीतसम्बन्धी तालिम दिने गर्छन् । जति धेरै गीतहरूमा त्यस्ता सफ्टवेयरको पहुँच हुन्छ, ती उति नै तगडा हुन्छन् । युनिभर्सल कम्पनीका प्रवक्ताले भनेका थिए, ‘हाम्रा संगीत सर्जक र उत्पादकहरूमाथि हाम्रो नैतिक र व्यावसायिक दायित्व छ । हामीले आफ्ना सर्जकका सिर्जना अनधिकृत रूपमा तोडमोड गरिन र दुरुपयोग हुनबाट रोक्नका लागि यो कदम चालेका हौं ।’
यो सबै विवाद चल्दै गर्दा चर्चित फ्रान्सेली संगीत उत्पादक र डिजे डभिड गुएटाले भने एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिँदा आफ्नो एउटा गीतमा अमेरिकी र्‍यापर एमिनेमको जस्तो सुनिने एआईमार्फत सिर्जना गरिएको गायन थपिदिएका थिए । पछि आफ्नो ट्वीटरमा समेत ‘लेट मी इन्ट्रोड्युस यु टु एम–एआई–नेम’ भन्दै सो गीत पोस्ट गरेका थिए । उनले अझै पनि आफ्ना सार्वजनिक कार्यक्रमहरूमा उक्त गीत सुनाउने गरेका छन् र भन्छन्, ‘एआई प्लाटफर्महरू संगीत र धुन सिर्जनाको भविष्य हुन् । म यो प्रविधिको प्रयोगलाई लिएर असाध्यै उत्साहित छु ।’ पछिल्ला दिनमा व्यावसायिक संगीत उत्पादनमा सक्रिय र अत्यन्तै प्रभावशाली बन्दै आएका गुएटाजस्ता डिजेहरूका लागि एआईले व्यावसायिकताको नयाँ आधार बनाइदिएको उनको दाबी छ ।
सन् २००० यता संगीत क्षेत्रमा सर्जकभन्दा उत्पादकको हालीमुहाली बढिरहेका बेला उनीहरूलाई नै सहज हुने गरी एआईले सम्भावनाका नयाँ ढोकाहरू खोलिदिएको कतिपय सर्जकहरू गुनासो गर्छन् । यसले सर्जकलाई फेरि पनि मारमा पार्ने उनीहरूको भनाइ छ । प्रख्यात बेलायती रक ब्यान्ड ‘द पोलिस’ का प्रमुख गायक रहिसकेका स्टिंगले गत महिना मात्रै एआईको सहारामा सिर्जना भएका गीत अभिव्यक्तिको माध्यम हुन नसक्ने बताएका थिए । ‘संगीतको आधारस्तम्भ हामी मानिस हौं,’ उनले भनेका थिए, ‘इलेक्ट्रोनिक डान्स म्युजिकसम्मका लागि ठिकै होला, तर भावना अभिव्यक्तिमा एआईको रचनाबाट कम्तीमा म प्रभावित हुन सक्दिनँ ।’ स्टिंगले मानवीय पुँजी रक्षाका लागि अबका केही वर्ष एआईविरुद्ध व्यापक लडाइँ हुन गइरहेको धारणा व्यक्त गरेका थिए ।
संगीत क्षेत्रका सेलेब्रिटीहरूको दुरुस्त आवाजमा एआईले बनाएका गीतहरू सामाजिक सञ्जाल र अनलाइनमा हुरहुरी आउन थालेपछि कतिपय संगीतकर्मीले यसलाई नियमन नगरे स्रष्टा र सिर्जना सखाप हुने चेतावनी दिइरहेका छन् । रेडियोहेड ब्यान्डका गायक थम योर्क संगीतमा एआईको प्रयोगलाई लिएर आफू चिन्तित रहेको बताउँछन् । उनका अनुसार, एआईले संगीत बनाउँदा सिर्जनशीलता कमजोर हुँदै जाने र संगीत उद्योगमा स्रष्टाले आफ्नो अधिकार गुमाउने जोखिम बढ्छ । फिल्म उद्योगझैं संगीत उद्योगमा पनि धेरैथरी पेसाकर्मी आश्रित भएकाले संगीत उत्पादनमा एआई हाबी हुँदा वाद्यवादक, गायक, गीत रेकर्डिस्टदेखि म्युजिक भिडियोमा काम गर्नेहरूसमेत पलायन हुन सक्छन् ।
एआईको डिपफेक प्रविधिबाट बनाइएका गीतमध्ये रिआनाले गाएको बियोन्सेको ‘कफ इट’, कान्य वेस्टको आवाजमा पप ब्यान्ड प्लेन ह्यवाइट टिजको ‘हेर देयर डलाइला’ जस्ता गीत सोसल मिडियामा भाइरल भए । र्‍यापरको आवाजमा कन्ट्री सङ सुन्दा कतिपयले रमाइलो मानेको देखियो भने कतिले चाहिँ यसको नैतिक र कानुनी पाटोमा प्रश्न उठाए । एरियाना ग्रान्डीको आवाज पञ्जावी गीतमा समावेश गरियो । दिवंगत स्रष्टाका आवाजमा कभर सङ बनाउने त लहडै चलेको छ । माइकल ज्याक्सनको स्वरमा विकेन्डको गीत ‘आई फिल इट कमिङ’ एउटा उदाहरण हो ।
संगीतमा एआईको प्रयोगलाई केहीले ‘अन्त्यको सुरुवात’ भनिरहेका छन् । कतिपयले चाहिँ यसलाई सकारात्मक पहलहरूमा समेत लगाइरहेकाले यसको भविष्य सुखद रहेको र एआईलाई आत्मसात् गर्नुको विकल्प नरहेको बताइरहेका छन् । सन् २०२१ मा सुरु भएको ‘लस्ट टेप्स अप द २७ क्लब’ नामक एक अभियानमा गुगलको एआई टुल, म्यागेन्टा प्रयोग गरी २७ वर्षको उमेरमै दिवंगत भएका संगीतकर्मीको सांगीतिक शैलीमा गीत सिर्जना गर्ने काम भइरहेको छ । ग्रन्ज रकका प्रणेता भनिने निर्भाना ब्यान्डका कर्ट कोबेन, गायिका एमी वाइनहाउस लगायतको आवाजमा मानसिक स्वास्थ समस्यामाथि जनचेतना फैलाउने उद्देश्यले नयाँ–नयाँ एआई–गीतहरू बनिरहेका छन् । ऐभा एआईले सन् २०१६ मा बनाएको ‘ब्रेथ’ बोलको गीतलाई मानव हस्तक्षेपबिनै तयार भएको पहिलो एआई गीत मानिन्छ । अबको ग्रामी अवार्डमा एआई संगीतलाई समावेश गरिने कुरा पनि यस क्षेत्रमा चासोको विषय बनिरहेको छ ।
एआईको मद्दतले नयाँ र भावनात्मक अनुभवहरू समेटिएका संगीत सिर्जना गर्न सकिने सम्भावनाबारे आफू उत्सुक रहेको गायिका एवं गीतकार लेडी गागाको भनाइ छ । उनले मानिसहरूसँग जोडिन सक्ने संगीत सिर्जनाका लागि आफू एआई प्रयोग गर्न इच्छुक रहेको अन्तर्वार्ताहरूमा बताउने गरेकी छन् । यसले संगीतको सीमित ज्ञान वा साधनस्रोत उपलब्ध नभएकाहरूलाई पनि संगीत सिर्जना गर्ने अवसर दिने भएकाले संगीत क्षेत्रलाई विविधतायुक्त र समावेशी बनाउने कतिपयको राय छ । एआईले विभिन्न पृष्ठभूमिका संगीतकर्मीलाई सहकार्य गर्ने सुविधा प्रदान गर्न सक्ने भएकाले यसबाट पनि नयाँ र रोचक सांगीतिक विधाहरू सिर्जना हुन सक्ने अपेक्षा गरिएको छ ।
बितेर गएका स्रष्टाका अधुरा, अपरिष्कृत रचनाहरूलाई जोगाएर राख्न एआई प्रभावकारी हुने ठानिएको छ । एक वर्षअघि गोली प्रहारबाट निधन भएका भारतीय हिपहप कलाकार सिद्धु मोसेवालाको आवाजमा दर्जनौं नयाँ पञ्जाबी गीतहरू बनेका छन्, जुन उनी आफैंले गाएको नभई एआईको सहाराले तयार पारिएका हुन् । प्रविधिसम्बन्धी समाचार तथा लेख प्रकाशन गर्ने ‘रेस्ट अफ र्ब्लड’ का अनुसार, साउन्डक्लाउड र युट्युबमा सिद्धुका ३८ वटा त्यस्ता ट्राक छन्, जसमा दसौं हजारभन्दा धेरै भ्युज देखिन्छ । ‘उनको आवाजलाई जीवित राख्नुका साथै उनको विरासत पुस्तौंसम्म कायम होस् भनेर यस्तो गरिएको हो,’ संगीत उत्पादक अमरजित सिंहले भनेका छन्, ‘हामीले सोचेभन्दा धेरै चर्चित भयो ।’ ट्र्याक सार्वजनिक गर्नुअघि सिंहले यसलाई सुन्दर बनाउन एआई भ्वाइस डिफ्युजनमा तीन हप्ता काम गरेका थिए । यो प्रक्रियामा संलग्न अमेरिकी डीजे एमआरए भने यस्तो गर्नु नैतिक रूपले सही हो कि होइन भन्नेमा आफू अझै प्रस्ट भइनसकेको स्विकार्छन् ।
एआईले संगीत सिर्जना, सम्पादन, प्रकाशनको काम गर्न थाल्दा व्यावहारिक, नैतिक मात्रै नभई कानुनी, प्रक्रियागत रूपमा पनि विभिन्न झन्झट र अस्पष्टताहरू देखिन्छन् । अहिलेसम्मकै विश्वव्यापी बहस हेर्दा सबैभन्दा ठूलो समस्या प्रतिलिपि अधिकार अर्थात कपिराइटको हुने देखिन्छ । जस्तो कि कपिराइट दर्ता भएका संगीत, रचना वा धुनमा एआई सफ्टवेयरलाई तालिम दिएर त्यसले सिर्जना गरेका संगीत कसको हुने भन्नेमा कानुनी झमेला आइलाग्ने प्रस्टै छ । त्यस्तै, एआई प्लाटफर्महरूले विभिन्न चर्चित कलाकारको जस्तै स्वर वा उनीहरूको नामलगायत विवरण प्रयोग गर्ने भएकाले प्रकाशन तथा प्रचारको अधिकारसम्बन्धी विवाद पनि उठ्न सक्छ । एआई प्लाटफर्महरूको प्रयोगबाट बन्न सक्ने गालीगलौज, दुर्व्यवहार, भेदभावपूर्ण गीत/संगीत तथा अन्य सिर्जनामा कानुनी दायित्व कसको हुने र त्यसको व्यवस्थापन कसरी गरिनेछ भन्ने प्रश्न पनि टड्कारो रूपमा अगाडि आउने नै छ ।
अन्य क्षेत्रमा जस्तै एआई प्लाटफर्महरूले संगीतमा पार्ने प्रभाव र ल्याउने अन्योलको सम्बोधन कसरी होला ? यो विषय अबका दिनमा हेर्नलायक हुनेछ । यहाँनिर एउटा स्थानीय उदाहरण दिऊँ– पत्रकार ऋषि धमलाको एक अन्तर्वार्तामा उपस्थित गायक दुर्गेश थापालाई सोधियो, ‘तपाईंको प्रिय गायक को ?’ उत्तर थियो– नारायण गोपाल । धमलाले दुर्गेशलाई मनपर्ने नारायण गोपालको एक गीत गाउन आग्रह गरे । झुक्किएर होला दुर्गेशले भक्तराज आचार्यको ‘मुटु जलिरहेछ’ गाए । तर, अब झुक्किएर होइन, एआईको मद्दतले जानाजानै भक्तराज आचार्यको गीत नारायण गोपालको स्वरमा तयार पार्न सम्भव हुने भएको छ । नारायण गोपालका गीत भक्तराज आचार्यको स्वरमा वा अरूण थापाका गीत फत्तेमानको स्वरमा निर्माण गर्न सकिने भयो । रमाइलो चाहिँ यसो सोच्नुहोस् त, दुर्गेश थापाका गीति–पङ्क्ति नारायण गोपालको स्वरमा बनाइयो भने कस्तो सुनिएला ?
जे होस्, एआईले ल्याएको आँधी च्याटजीपीटीमा मात्रै सीमित छैन । यसले संगीतजस्तो विश्वव्यापी तरंग छाड्ने क्षेत्रमा कस्तो प्रभाव पार्ला ? यो विषय भविष्यको अर्को रोचक पाटो हो– बहस र विमर्शको ।

 

Page 10
कोसेली

हराएको एउटा काँठ

- राजेन्द्र पराजुली

 


कोटेश्वर कहिलेसम्म काँठ रह्यो ? यसको तिथिमितिगत उत्तर सम्भवतः कसैसँग पनि छैन । यतिचाहिँ किटानीका साथ भन्न सकिन्छ– जनआन्दोलन २०४६ को सफलतापछि कोटेश्वरको काँठेपनामा क्रमशः कमी आउन थालेको हो । तीसको दशकमा कोटेश्वर काँठले उच्चबिन्दु स्पर्श गरेको देखिन्छ । सोही दशकको एक भोक्ताको फ्रेमबाट हेर्दा यो काँठ अथवा सहरको किनारबारे यस्तो स्मृति ताजा बनेर आएको छ ।
जब २०४६ सालको आन्दोलन सफल भयो तब कोटेश्वरको काँठे संस्कार एक पटक उचाइमा पुगेर क्रमशः तल ओर्लन थाल्यो । आन्दोलन निष्कर्षमा पुगेपछि अधिकांश कोटेश्वरवासी कांग्रेस र कम्युनिस्टमा विभाजित भए । मन नपरेको व्यक्ति वा छिमेकी कांग्रेस भयो भने आफू कम्युनिस्ट हुने चलन खुबै चल्यो । प्रायः काँठवासीमा ‘तँलाई म देखाइदिन्छु’ भन्ने मनोभाव बलियो थियो । यो पनि त कल्चरकै प्रभाव हो । दलहरू प्रतिबन्धित रहेको समयमा कोटेश्वरमा कम्युनिस्ट वर्चस्व थियो, कांग्रेस निकै कम देखिन्थे सतहमा । शासनसत्ताप्रति अधिक डराउँथ्यो काँठ । पञ्चहरूको चुरीफुरी अत्यन्तै थियो भने उनीहरू खुलेआम बहुदलवादीलाई असामाजिक करार गरिदिन्थे । कम्युनिस्ट अर्थात् प्रगतिशील विचारको पक्षपाति हुँदाहुँदै पनि कोटेश्वरको जीवनशैली भने यथास्थितिवादी वा कहिलेकाहीँ त पश्चगामी नै थियो । विभेद, थिचोमिचो, अन्याय र सुदखोरी व्याप्त थियो । मेरी आमाले एक तोला सुन धितो राखेर वर्ष दिनका लागि छिमेकीसँग सय रुपैयाँ सापटी लिएकी रहिछन्, उनले तोकिएको समयमा साउँब्याज तिर्न सकिनन् । दुई–तीन महिनापछि पैसा लिएर सुन निखन्न जाँदा धितो लिनेले नदिएको घटना आमा बारम्बार सुनाउँथिन् । महिलालाई कम श्रममूल्यका साथै शिक्षाबाट वञ्चित गर्नेदेखि दलितहरूप्रति काँठ असहिष्णु थियो ।
प्रश्न उठ्छ– के हो त काँठ कल्चर ? यसको कुनै छुट्टै पहिचान छ ? कुनै निश्चित कल्चर वा जीवनशैली, खानपान, चाडबाड, गीतसंगीत अथवा मनोरञ्जनमा निजत्व नहुनु नै काँठ कल्चर हो । त्यसो भए के यो ‘पप कल्चर’ हो ?
छ्यासमिस वा पोस्टमोडर्न (!) कल्चर ? कोटेश्वरबाट अलि पर्तिरको भक्तपुर सहर, काठमाडौं र पाटनका नेवारहरूमा आफ्नै कल्चर थियो । उपत्यकाका डाँडावरिपरि बसोबास गर्ने तामाङको पनि निजी कल्चर थियो । तर, यो कोटेश्वर काँठको आफ्नो भन्नु केही पनि थिएन । नेवार हुन् वा तामाङ तिनको आफ्नै चाडपर्व र मनोरञ्जन अनि खानपानको तरिका थिए । भलै ती बिस्तारै फिका हुँदै गए । बहुल संस्कृतिको थिचोमिचोमा ती पनि पर्दै गए ।
काँठको भने कहिल्यै आफ्नो निजी कल्चर हुन सकेन । न खानपान न त लवाइ नै आफ्नो बनाउन सक्यो यसले ! तर, मनोविज्ञान भने काँठको अलि फरक थियो । अधिकांश काँठे महत्त्वाकांक्षाहीन थिए । जीवनमा केही गर्नैपर्छ भन्ने सोच निकै कममा प्रतीत हुन्थ्यो । शिक्षाको महत्त्वबारे अल्पज्ञान मात्रै थियो । आफ्नो भन्दा अरूको बढी चासो र चिन्ता राख्नु काँठको स्वभाव हो । चिया पसल वा कुनै चौतारोमा बसेर अरूको कुरा काट्नु औधी प्रिय कर्म हुन्थ्यो काँठवासीको । त्यही स्वभाव बोकेर वर्षौंदेखि काँठ बाँचिरह्यो ।
लामो समयसम्म काँठले मनोरञ्जनलाई ‘पाप’ सम्झिरह्यो, ‘खराब कर्म’ मानिरह्यो । म बिर्सनै सक्दिनँ तीसको दशकको मध्यतिरको एउटा घटना । एक जना गाउँले दाइले रञ्जना सिनेमाहल लगेर आफ्नै पैसामा मलाई हिन्दी सिनेमा देखाएका थिए । त्यो सिनेमाको नाम ‘आदमी सडकका’ थियो । त्यसबखत मैले दस कक्षा उत्तीर्ण गरिसकेको थिएँ । तर, मेरो जीवनकै पहिलो सिनेमा थियो त्यो । सिनेमा हेरेर घर फर्कंदा पाँच नाघिसकेको थियो । घरमा आमा र दाजुले एकै पटक सोधे– ‘कहाँ गएर आइस् यतिखेरसम्म ?’
‘रञ्जनामा सिनेमा हेरेर आको,’ मैले सीधा उत्तर दिएँ ।
‘यहाँ गाई भोकले कराएको करायै छ, तँ भने सिनेमा हेर्न जानेँ ? अब यो बिग्रने भयो, खराब काम गर्‍यो यसले । यति सानै उमेरमा सिनेमा हेर्न थाल्यो !’ दाजु कराउन थाले ।
तीनकुने छेउछाउ, त्रिभुवन विमानस्थल नजिकका चौर र बागमती नदीवरपर दैनिक गाई चराउन लैजाने जिम्मेवारी मेरै थियो । गाई चराउन जाँदा गरिने कतिपय कर्म नै हाम्रा निम्ति मनोरञ्जन थिए । बगलीमा पैसा हुँदा गुच्चा र पायाँ (कौडाजस्तै) खेलिन्थ्यो, नहुँदा कित्ता (चुरोटको खोलबाट बन्ने) वा डन्डीबियो प्रमुख खेल बन्थ्यो । दाइ पुस्ताका केही अग्रज भने सिनेमा नियमित हेर्थे, चाहे घरमा जतिसुकै कुटाइ खाइयोस् वा पापी भनियोस् । उनीहरू बेलाबखत तास र पासा पनि खेल्ने गर्थे ।
सोही समयको छेकोमा दाइ उमेरका थुप्रैले घरबाट पैसा वा सुन चोरेर ‘सोले’ फिल्म हेर्न रक्सौल पुगेको कथा सुनेको थिएँ । सोले हेरेर फर्केका एक जना दाइले उक्त फिल्मको डाइलग अभिनयसहित सुनाएका थिए । उनले त्यो फिल्म सात पटक हेरेका रहेछन् । कलाकारका नाम, गीत र संवाद हामी भाइहरूलाई ती दाइले खुबै सुनाउँथे । तिनको ‘स्टोरी टेलिङ’ मलाई अद्भुत लाग्थ्यो । दृश्यसमेत बताउँथे उनी । ‘शोले’ हेर्न रक्सौल पुगेका उनी झन्डै १० दिनपछि घर फर्केका थिए । तिनी मेरा निकटतम छिमेकी थिए । उनी आफ्नी आमाको सुन चोरेर सोले हेर्न गएका रहेछन् । घर फर्केपछि खूब पिटाइ खाए, त्यो क्रम केही दिनसम्म जारी रह्यो । पिट्दा उनकी आमाले पटकपटक ‘तँ पापी मेरो सुन चोरेर सिनेमा हेर्न जाने भइस् हैन’ भन्थिन् । उनलाई सिनेमा अर्थात् मनोरञ्जन गर्नु र पाप गर्नु उस्तैउस्तै लाग्थ्यो सायद । ती दाइ र तिनका दौंतरी सिनेमामा हिरो वा अन्य कलाकारले लगाएको जस्तै लुगा लगाउन खोज्थे । कलाकारका बोली र व्यवहार पनि नक्कल गर्न खोज्थे । काँठमा पप कल्चर भित्र्याउन सायद ती दाइजस्तैको योगदान पो रह्यो कि भन्ने पनि मलाई लाग्छ ।
आमाको सुन चोरेर सोले हेर्ने ती दाइको स्वभाव खर्चालु खालको थियो । उनी घरबाट सुन मात्र होइन, चामल र अर्थोक पनि चोरेर बेच्थे । त्यो समय नगदको चरम अभाव थियो । त्यो अभाव पूर्तिका खातिर घरका सरसामान नबेची खल्ती गह्रुङ्गो पार्न सम्भव थिएन । युवावयका मानिसले घरबाट चोरेको सामान किन्ने एक जना पसले थिए । त्यसबखत तिनी कोटेश्वरमा खुबै बदनाम पनि थिए ।
खासमा काँठ रहँदा कोटेश्वर सधैं हेपाइमा पर्‍यो । सहरवासीले जसरी हामीलाई ‘काँठे’ भन्थे, उसै गरी दूर डाँडापाखाका मानिसले पनि हेप्दै सोही सम्बोधन गर्थे । काँठले तिनलाई ‘पाखे’ भनेर हेप्ने प्रयत्न गर्थ्यो, तर सफल हुँदैनथ्यो । लामो समयसम्म काँठेले विवाह गर्न काँठतिरै ताक्नुपर्ने अवस्था थियो । सहरियाले पत्याउने त कुरै भएन, छेउछाउ डाँडापाखाले पनि काँठेसँग सम्बन्ध गाँस्न रुचाउँदैनथ्यो । कम्युनिस्ट वर्चस्व रहेको कोटेश्वरमा वामपन्थीहरूले ‘पप कल्चर’ मन पराउने कुरै भएन । पप कल्चरलाई ती पश्चिमा वा अमेरिकी साम्राज्यवादी कर्म मान्थे ।
अहिले त कोटेश्वर काठमाडौं महानगरपालिका वडा नम्बर ३२ भइसकेको छ । सरकार वा प्रशासनले यो स्थानलाई नगरपालिका करार गरिदिएको लामो समयसम्म पनि यसले आफूलाई नगरवासी मानेको थिएन । बिस्तारै यहाँको स्थानीयता ओझेल पर्दै जान थाल्यो । यो काँठले बागमतीमा नुहाउन, पौडी खेल्न, लुगा धुन र अप्ठेरो पर्दा त्यो खोलाको पानी पिउन नपाउने भयो । दर्जनौं कुवा, इनार अतिक्रमित भए । खुला स्थान, चौर र चौतारोहरू निजी सम्पत्तिमा रूपान्तरित भए । अब कोटेश्वरमा यहाँको खेतबारीको माटोको सुगन्ध आउँदैन । विभिन्न ठाउँबाट बसाइसराइ गर्दै यता आउनेको संख्या ह्वात्तै बढेपछि कोटेश्वरले आफ्नो काँठको चोला बदलेको हो । साँच्चै कोटेश्वरबाट हराएको काँठ अहिले कहाँ पुग्यो होला ?
यो काँठलाई ‘कल्चरलेस’ भन्नु पनि अलिकति अपमान नै हो । त्यो अपमान म स्वयम् पनि खप्न सक्दिनँ । जति नै आफ्नो निजी कल्चर छैन भने पनि अलिकति यताबाट, अलिकति उताबाट आयात गररै भए पनि भोगिरहिएकै हुन्छ । यसो हुँदाचाहिँ काँठले ‘पप कल्चर’ अंगीकार गरिरहेको हुन्छ भन्दा केही न्याय होला कि भन्ने मलाई लागेको हो ।
काँठ स्वदेशी कमिज–सुरुवाल नलगाएर पश्चिमी सभ्यताको पाइन्ट–सर्ट पहिरन्छ । मकै, ढिँडो, कोदो, फापर, गहुँ नखाएर किनेरै भए पनि उसिनाको चामल खान्छ (किनकि, त्यो समय काँठमा वर्ष दिन पूरै खान पुग्ने धान उत्पादन हुने जमिन निकै कम मानिससँग मात्रै थियो) । गाउँका साना पसलमा दैनिक उपभोग्य सामान नकिनेर सहर (त्यसबखत मंगलबजार वा असन) पस्छ । गाई–भैंसी पाल्छ, तर दूध आफू कम पिउँछ वा पिउँदै पिउँदैन र बेच्न पनि सहर नै पुग्छ । दही बेच्छ र कोक पिउँछ । मनोरञ्जन (विशेषगरी सिनेमा हेर्ने) लाई खराब काम वा पाप ठान्छ, तर बहुसंख्यक युवा लुकीछिपी भिडियो, त्यसमा पनि ‘पोर्न’ हेर्न मन पराउँछ । गाई–भैंसी दुहुन छाडेर केही क्रान्तिकारी (परिवर्तनप्रेमी) युवा हिप्पी हेर्न झोँछे वरपर पनि पुग्छन् । हिप्पीबाट प्रभावित बनेर बेलबटम पाइन्ट लगाउने, जुल्फी (कपाल) पाल्ने र सर्टको कलर लामो पार्ने काम पनि काँठका केही युवापंक्तिले गर्‍यो । हिप्पीकै कथामा आधारित बीसको दशकको उत्तरार्द्धतिर बनेको हिन्दी सिनेमा ‘हरेरामा हरेकृष्णा’ तिनको प्रिय सिनेमा (नेपालमा छायांकनसमेत भएको) बन्न पुग्यो ।
आमरूपमा कोटेश्वर काँठले वार्षिक रूपमा स्वस्थानी भने पढिरह्यो र त्यसका तिलस्मी कथाबाट रोमाञ्चित
भइरह्यो । सप्ताह, पुराण बेलाबखत लगाइरह्यो र दसैं–तिहार पनि मनाइरह्यो । छोरीलाई स्वस्थानी कथा पढ्न कहिल्यै दिएन र स्त्रीले सुन्न हुँदैन भन्दै गायत्री मन्त्र व्रतबन्ध गरेका पुरुषले दैनिक रटिरहे । र, कल्चरभित्र यी क्रियाकलापले स्थान ओगटिरहे ।
काँठ जहिलेसम्म ‘काँठ’ नै रह्यो त्यसबखतसम्म त्यसले पप कल्चर अपनायो । यहाँ थोरै यस्ता मानिस पनि बस्थे, जो आफूलाई ‘एलिट’ मान्थे, तिनले पनि कुनै ‘एलिट कल्चर’ अपनाउन सकेनन् । ती एलिटहरूले पनि पप कल्चरकै बाटो समाते । पप कल्चर उसै पनि कम आयु भएको पदावलीका रूपमा दर्ता भएको छ । यसलाई हामीले कतिपय अवस्थामा ‘अपसंस्कृति’ को उपमा दिए पनि यो एउटा कल्चर त हो नै ।
संसारभरि नै कल्चरहरूबारे अध्ययन–अनुसन्धान र अध्यापन हुने गरेको पाइन्छ । कल्चरलाई विद्वान्हरूले सर्वाधिक रचनात्मक र ज्ञानको स्रोत मानेका छन् । ‘कल्चरल ट्रान्समिसन’ ले मानिसहरूलाई नयाँनयाँ आविष्कारका साथै नयाँ सोच र नयाँ युगमा पुग्न मद्दत गरेको विश्वास गरिन्छ । युरोप–अमेरिकामा १९७० मा मानविकी र समाजशास्त्रका विद्वान्हरूले ‘कल्चरल टर्न’ नामक अभियान नै चलाएका थिए । कल्चरल टर्नले इतिहासको अध्ययनमा ठूलो प्रभाव पारेको मानिन्छ । यसले विगत कस्तो थियो, हामीले यसका बारेमा कसरी कुरा गर्‍यौं र हामीले यसलाई कसरी सिकायौं भन्नेबारे हाम्रा सबै पुराना मान्यताहरूलाई प्रश्न गर्न बाध्य तुल्यायो । डेभिड चेनी नामक लेखकले ‘द कल्चरल टर्न’ नामक किताब नै लेखेका छन् । सन् १९९४ मा प्रकाशित उक्त पुस्तकमा उनले भनेका छन्, ‘कल्चर मानविकीको क्षेत्रमा पछिल्लो शताब्दीमा महत्त्वपूर्ण रूपमा विकसित अवधारणा हो । कल्चर र त्यससँग जोडिएको पदावली अध्ययनको विषय मात्र नभएर सर्वाधिक रचनात्मक तथा बौद्धिक स्रोतसमेत बनेको छ । यसले हामीलाई आज हामीले बाँचिरहेको जीवन बुझाइको पुनर्व्याख्या गर्न अभिप्रेरित गर्दछ ।’
युवा विद्यार्थीको आकर्षण कम हुँदै गएको भए पनि हाम्रो देशको विश्व–विद्यालयमा कल्चर पढाइन्छ । कल्चर विषय रोचक कम हुनुका साथै यसमा भविष्य नदेखेरै विद्यार्थीको आकर्षण कम भएको हुन सक्छ । यसलाई रोचक बनाउने जिम्मा पाठ्यक्रम निर्माता, लेखक र प्राध्यापककै हो । विश्व–विद्यालयमा कहिल्यै काँठ कल्चर पढाइ भएन । ‘कल्चरल टर्न’ बुझ्न काँठजत्तिको उपयुक्त स्थान अर्को हुन होला
र ! हाम्रा प्राध्यापकहरूले सहायक सामग्रीकै रूपमा भए पनि यस्ता कल्चरबारे पढाउने कष्ट गरेनन् । नत्र द्रुत गतिमा फेरिइरहेको काँठ कल्चरको अध्ययन–अध्यापन कम्ता रोचक र रोमाञ्चक हुने थिएन ! हाम्रा विश्व–विद्यालय र पाठ्यक्रम निर्माता विद्वान्हरूलाई अनुरोध के छ भने, आफ्नो निजी कल्चर नहुनाले नै काँठ सधैं ‘कल्चरल ट्रान्जिसन’ को सिकार
बनिरह्यो । यसैलाई ऐतिहासिक घटना मानेर, काँठको निजी स्वरूप तथा प्रतिनिधि घटनाहरूबारे खोज गर्दा हितकर नै हुन्छ । के यसबारे कुनै शोध–अनुसन्धान हुनु वा विश्व–विद्यालयको
पाठ्यक्रममा समावेश गरिनु रोचक सन्दर्भ नबन्ला र !

 

कोसेली

नेवारी स्वादको नशा

- शेखर खरेल

 

बेलायतको रियालिटी कुकरी सेरिज बीबीसी मस्टरसेफ प्रतियोगिताको सन् २०२० संस्करणको सेमिफाइनलमा नेपाली सेफ सन्तोष साहले यस्तो परिकार पस्किए, जसको जादुले उनलाई अन्तिम छ (फाइनलिस्ट) पुग्नबाट रोक्न सकेन । चकलेट, काजु र खोर्सानी भरेर तयार गरिएको योमरीले जसै सेलेब्रिटीले सेफ एर्न्ड्यु वोङको जिब्रो चुम्यो उनको ‘वाह’ र ‘यम्मी’ सँगै साहले ‘फाइनलिस्ट’ को सिट सुरक्षित गरे ।
संसारमा प्रचलित हरेक परिकार र स्वाद चाखेका निर्णायकमाथि अब के नयाँ स्वादको जादु चलाउने भन्नेबारे सोच्दासोच्दै सेफ साह मौलिक नेवारी परिकारको जुक्तिमा पुगेका थिए । लोकप्रिय नेवारी परिकार योमरीलाई उनले अलि ‘ट्वीस्ट’ दिँदै निर्णायकको मन जिते । काठमाडौं खाल्टोको लोकप्रिय योमरी सात समुद्र पार पनि उसैगरी ‘हिट्’ भयो ।
नेवारी परम्पराको महत्त्वपूर्ण अवयव हो पाककला अनि परिकार । संसारका ठूला सहरका भव्य बुकस्टोरमा ‘ग्यास्ट्रोनोमी’ (पाककला वा पाकशैली) निम्ति अलग्गै खण्ड हुन्छ, जहाँ संसारभरका प्रचलित पाक परम्पराका अनगिन्ती पुस्तक उपलब्ध हुन्छन् । तर, त्यहाँ नेपालका राष्ट्रिय वा जातिगत परिकारका पुस्तक सायदै भेटिन्छन् । यसै अभावलाई सम्बोधन गर्न हिजोआज नेपाली लेखकसमेत पाककलाका पुस्तक प्रकाशनमा अग्रसर देखिएका छन् । यसैको एउटा ज्वलन्त उदाहरण हो, नेवारी परिकारको पारम्परिक महत्त्व, यसको पकवान विधि (रेसिपी) र पौस्टिक महत्त्व समेटेर प्रकाशित पुस्तक ‘नेवा नशा’ । रमाइलो चाहिँ, यस सचित्र पुस्तकका लेखक कुनै सेलिब्रिटी सेफ वा ‘कुकरी सो’ का प्रस्तोता नभएर पेसाले चिकित्सक हुन्, स्त्रीरोग विशेषज्ञ डाक्टर सुमनराज ताम्राकार ।
‘नेवा नशा’ का पानाहरू पल्टाउँदै गर्दा ताम्राकारले पकवानबारेको ज्ञान विरासतमै प्राप्त गरेको अनुभूति हुन्छ । नेवारी परिकारलाई फगत खाद्यसामग्रीका रूपमा लिन सकिँदैन । किनकि, प्रत्येक परिकार संस्कारसँग जोडिएकाले यसको सांस्कृतिक विशिष्टता छ । नेवारी संस्कृतिको जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा पकवान अनिवार्य हुन्छ । खास–खास चाडपर्व, उत्सव र जात्राहरूमा खास–खास परिकार तयार गरिन्छन्, जसलाई उल्लासपूर्वक सामूहिक भोजन गरिन्छ ।
संस्कार र परिकार अन्योन्याश्रित रहेकै कारण ताम्राकार परिकारको ‘रेसिपी’ मा सीमित नरहेर त्यसको उत्पत्ति र सांस्कृतिक अर्थउपर विवेचना गर्छन् । उदाहरणका लागि, नेवारी लोकप्रिय परिकार ‘समेबजी’ जति सुस्वादु छ, यसको यसको सांस्कृतिक अर्थ उति नै सुरुचिपूर्ण छ । हिजोआजको ‘प्लाटर’ अर्थात् मिश्रित एवं बहुपरिकार समेबजी पञ्चतत्त्वको प्रतीक हो । ताम्राकार लेख्छन्, ‘स्याबजी आकाशतत्त्व, कालो भटमास वायुतत्त्व, अदुवा जलतत्त्व, छोयला पृथ्वीतत्त्व र रक्सी तेजतत्त्वको गुण मानिन्छ । समेबजीलाई समग्रमा भैरव र अष्ट मातृकाका रूपमा पुजिन्छ ।’
नेवारी खानाको अर्को विशेषता यसको सम्पूर्ण चक्र अर्थात्, ‘फुल कोर्स’ हो । पश्चिमा खानामा भनिने ‘एपेटाइजर’, ‘मेनकोर्स’ र ‘डेजर्ट’ नेवारी खानामा पनि लागू हुन्छ । सँगसँगै ‘अयला’ (रक्सी) र ‘थों’ (जाँड) ले खानालाई मादक अनि गरिष्ट गराउँछ । मानिसको पाचन प्रणाली र वातावरणसँग सम्बन्धित हुनु नेवारी परिकारको अर्को विशेषता हो । किनकि, परिकार मानिसको उपभोगमा सीमित नरहेर वातावरणीय सन्तुलनसँग समेत सम्बन्धित रहन्छ । जनैपूर्णिमाका दिन कृषकहरू धानबालीमा लाग्ने किराफट्यांग्रा खाइदिने भ्यागुतोलाई कृतज्ञतास्वरूप ‘ब्या जानकेगु’ (चामल अक्षता) ले पुज्छन् भने शिथिको दिन घरबस्तीका इनार, कुवा सरसफाइ गर्दै भोजभतेर गर्छन् ।
त्यसैगरी नेपालका चाडपर्वहरू नेपाल संवत्को चन्द्रमास पात्रो अनुसार मनाइँदै आएको तथ्यउपर जोड दिँदै लेखक पात्रो बमोजिमका चाडपर्व र तिनका विशेष व्यञ्जनको फेहरिस्त पस्किन्छन् । धान्य पूर्णिमाको प्रसिद्ध योमरी अनि भक्तपुरको प्रसिद्ध जुजु धौदेखि थोरैले मात्रै चाखेको वा सुनेको न्याखुना (राँगाको मासु र सिध्रा माछाको परिकार), फकंसना (कर्कलाको डाँठको अचार) को पकवान विधि (रेसिपी) पकवानमा रुचि हुनेका लागि अत्यन्तै पक्कै पनि उपयोगी देखिन्छ । यसैगरी लेखकले रक्सी उत्पादन विधि मात्र नभएर यसको मात्रा र असरबारे चर्चा गरेका छन् ।
ताम्राकारले नेवारी खाद्यवस्तुमा मौजुद पोषण तत्त्वहरूको ‘डायटेसियन’ ले झैं सूची नै तयार गरेका छन्, जुन गरिष्ट खानपिनका पारखी र ‘क्यालोरी कन्सियस’ दुवैका लागि निकै उपयोगी हुन सक्छ । अझ पोषणको फेहरिस्तले मात्र ताम्राकारलाई चित्त नबुझेको हुन सक्छ, उनले ‘यौनबर्धक छ नेवारी परिकार’ भन्दै कुन परिकारले यौन तथा प्रजननक्रियामा कस्तो असर पार्छ भनेर अलग्गै सूची तयार गरेका छन् । यी अतिरिक्त लेखकले परिकारका कच्चा पदार्थहरू मरमसला र तरकारीका रोग निवारण शक्तिबारे पनि प्रकाश पारेका छन् ।
आफूले विरासतमा पाएको सुस्वादु परिकारमार्फत तिनको पारम्परिक पृष्ठभूमि, सांस्कृतिक महत्ता र गुणकारी पोषणउपर आधिकारिक जानकारी पस्कँदै सुमनराज ताम्राकारले ‘नेवा नशा’ मार्फत साँच्चै स्वादको जादु चलाएका छन् ।

कोसेली

'अनुवाद दोस्रो दर्जाको नागरिकझैं छ’

विशेषतः हिन्दी भाषा/साहित्यका सामाग्री नेपाली अनुवादमा ल्याएर अलग नाम बनाएका श्याम प्रधानले पछिल्लो पटक स्वतन्त्र भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको आत्मकथा प्रकाशनमा ल्याएका छन् । यसअघि अनुवादमै ‘प्रेमचन्दका उत्कृष्ट कथा’, ‘देवदास’
(शरत्चन्द्र चट्टोपाध्यायको उपन्यास), ‘हिनामिना’ (प्रेमचन्दको उपन्यास ‘गबन’) प्रकाशनमा ल्याइसकेका प्रधानको अर्को अनुवाद ‘कुलवधू’ (रवीन्द्रनाथ टैगोर) प्रकाशोन्मुख छ ।
नेपालमा धेरैजसो साहित्यिक कृतिहरू अंग्रेजीबाट नेपालीमा अनुवाद भएका छन् । तपाईं हिन्दीबाट नेपाली अनुवाद गर्न लागिपर्नुभएको छ । यस्तो भिन्न लगाव किन ?
मेरो बाल्यकाल र अध्यनकालसमेत भारत, कलकत्तामा बितेको थियो । त्यसकारण पनि हिन्दीमा अलिक पकड थियो नै । पछि कामका क्रममा साझा प्रकाशनमा लामो समयसम्बद्ध रहँदा पुस्तक/पत्रिकामा रुचि बढेकाले र साहित्यमा पनि हिन्दी–नेपाली वा नेपाली–हिन्दी अनूदित सामग्री खोज्ने रुचि बढेपछि आफैं अनुवादमा लागेको हुँ ।
पहिले साहित्यिक कृतिहरूको अनुवाद थियो, अहिले एक राजनेताकेन्द्रित आत्मकथा अनुवादमा आएको रहेछ । भारतीय राजनेता राजेन्द्र प्रसादमा तपाईंले त्यस्तो के आकर्षण भेट्नुभयो ?
मैले विद्यालयकालमै नेता राजेन्द्र प्रसादको जीवनी पढेको थिएँ, उहाँको सादगी जीवनबाट मजस्ता धेरै विद्यार्थी प्रभावित रहेको मैले पाएको थिएँ । त्यसबेलाको बिहार, चम्पारनको सामाजिक र राजनीतिक चेतमा जोडिएर एउटा साधारण व्यक्ति राजेन्द्र प्रसादले राष्ट्रिय मानचित्रमा राख्न सकेको स्थान अलौकिक थियो, अनुकरणीय थियो । राष्ट्रको सर्वोच्च पद राष्ट्रपति भएर सफल कार्यकाल बिताउने यी पात्रलाई प्रेरणा र जातीय, धार्मिक, वर्गीय सद्भावको सेतुका रूपमा चिनाउनुपर्छ भनेर यो अनुवादमा लागेको थिएँ । २०७२ सालदेखि यसको अनुवाद सुरु गरेको थिएँ ।
राजेन्द्र प्रसादको नेपालसित लिंकचाहिँ के छ यो किताबमा ?
नेपालसित लिंकभन्दा पनि नेता राजेन्द्र प्रसादको समर्पण र त्यागको यो कथा हाम्रा लागिसमेत अनुकरणीय छ । धन, वैभव, मान–सम्मान र आत्मकुण्ठालाई पहिचान बनाउने धेरैका निम्ति राजेन्द्र प्रसाद धरातलमा उभिएका पढ्नैपर्ने र बुझ्नैपर्ने नेता भन्ने लागेरै यो अनुवाद गरेको हुँ । राजेन्द्र प्रसाद कहीं पनि कपोलकल्पित छैनन्,
दैनिकीका कुराहरू सहज रूपमा संस्मरणमा उत्रिएका छन् । नसोचेको राजनीतिक क्षितिजमा उदाएको गणतन्त्रको कथा भारतमा जस्तै नेपालमा पनि मिल्दो छ, उस्तै लाग्छ । अंग्रेजबाट खोसेर ल्याएको शासन र गणतन्त्रको पद्धतिलाई के–कसरी राजनीतिक, सामाजिक पद्धतिमा घुलमिल गराउन सकियो भन्ने कथानक यो पुस्तकमा छ । एउटा औसतको पारिवारिक स्थितिबाट उठेर पछि इंग्ल्यान्डमा ब्यारिस्टर पढ्न गएका क्षणको कुतूहललाग्दो क्षण तथा त्योबेला भारतीय महिलाहरूको अवस्थाबारे यसमा राम्रो चित्रण गरिएको छ । स्वतन्त्रताको मैदानमा के–कस्तो अवस्थाबाट गुज्रनुपर्‍यो अथवा जवाहरलाल, मोतीलाल, बल्लभभाइ, सुभाषचन्द्रदेखि महात्मा गान्धीसम्मको सामाजिक–राजनीतिक धरातल राजेन्द्र प्रसादको यो आत्मकथामा पढ्न सकिन्छ । पढ्दै जाँदा भारतका सम्पूर्ण स्वतन्त्रता सेनानीहरूसँगको सहकार्यको वृत्तान्त आफैंमा रोचक पनि लाग्छ ।
तपाईंले पहिले पनि अनुवादका काम गर्नुभएको छ । पाठक र बिक्रीका आधारमा कस्तो अनुभव गर्नुभयो ?
‘प्रेमचन्दका उत्कृष्ट कथा’ तेस्रो संस्करणसम्म निस्कियो, चौथो प्रकाशोन्मुख छ । २०७० सालमा साझा प्रकाशनबाट प्रकाशित ‘हिनामिना’ (गबन) अहिले बजारमा पाइँदैन । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘देवदास’ को संस्करण पनि अब केही प्रति मात्रै होला ।
नेपालमा अनुवाद साहित्यको स्थिति के छ ? त्यसमा पनि हिन्दीबाट नेपाली वा नेपालीबाट हिन्दीको अवस्था कस्तो छ ?
यसरी सामान्यीकरण गरेर भन्न त मुस्किल छ । अनुवाद भन्नेबित्तिकै धेरैले ‘दोस्रो दर्जाको नागरिक’ झैं ठान्छन्, अपहेलित र सुनुवाइबेगरको । तर, हिन्दी–नेपाली दोहोरो पाठकको रुचि र मागमा हुनुपर्छ । भर्खरै भारतीय लेखक छुदेन काविमोको ‘फातसुङ’ उपन्यास नेपालीबाट हिन्दीमा आएको छ, नम्रता चतुर्बेदीले ‘कहानी मिट्टी की’ नाममा अनुवादमा ल्याएको यो किताबले स्याबासी पाएको छ । केही वर्षअघि सिक्किमका आरसी गिरीले गरेको झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ को अनुवाद ‘जीवन काँटा या फूल’ पनि दिल्लीबाट नेसनल बुक ट्रस्टले छापेको थियो । यसरी संख्यात्मक रूपमा थोरतिनो भए पनि भाषा–साहित्य आदानप्रदान र वाङ्मय समृद्धि (स्तरोन्नति) का हिसाबमा यो आफैंमा ठूलो उपलब्धि हो ।

Page 11
कोसेली

पांग्रामा गुडिरहेको सभ्यता

- सुरेश ढकाल

 

पांग्राको आविष्कार सभ्यताको मानक कथा हो । यो त्यस्तो प्रविधिको आविष्कार थियो, जसले मानव सभ्यतालाई आजको उन्नत अवस्थासम्म यात्रा गरायो । संस्कृतिको उद्विकासमा छोटो अवधिमै लामो दूरी तय गर्न मान्छेको अन्य प्राविधिक आविष्कारका तुलनामा पांग्राको योगदान महत्त्वपूर्ण छ । महाभारतको रथदेखि सुपर–सोनिक जेटको कथा खासमा पांग्राबिना सम्भव थिएन । प्रविधि युगको आदिकथा हो– पांग्राको कथा ः यो सामान्य पांग्राको केही असामान्य फुटकर कथा हो ।

कथा महाभारतको
महाभारत बृहत् युद्धकथाका सबैभन्दा ‘अभागी’ पात्र हुन्– सूर्यपुत्र कर्ण । यद्यपि महाभारत पढे/सुनेका मान्छेका लागि तिनै कर्ण सम्भवतः निकटका लाग्न सक्छन् । मानौं आजको मान्छेको विरोधाभाषपूर्ण जिन्दगीको प्रतिनिधित्व गर्थे कर्ण । भारतीय लेखिका इरावती कर्वेका अनुसार, कर्ण ‘म को हुँ’ भन्ने प्रश्न वरिपरि रुमल्लिइरहेका पात्र थिए, जुन आजको मान्छेको मनोदशासँग धेरै मेल खान्छ । ‘धर्मयुद्ध’ को सत्रौं दिनमा ‘कपटपूर्ण’ रूपमा गरिएको कर्णको हत्या दुःखान्तको उत्कर्ष थियो । कर्णको हत्या त्यतिबेला भयो, जतिबेला उनको रथको पांग्रा जमिनमा धस्सिएको थियो र उनी त्यही धसिएको पांग्रा निकाल्न जमिनमा ओर्लिएका थिए निहत्था । तिनै निःशस्त्र कर्णलाई कृष्णको ‘उक्साहट’ मा, तर युद्धको शिष्टाचारविपरीत अर्जुनले वाण चलाएर हत्या गरेका थिए । कथाअनुसार, यदि कर्णले पनि युद्धको शिष्टाचार र ‘धर्म’ बिर्सिएको भए उनले पनि अर्जुनको हत्या गर्न सक्थे, तर त्यसो गरेनन् । भनिन्छ, महाभारत अनेकौं असंगतिहरूका संगतिपूर्ण कथा हो । यदि कर्णले पनि ‘धर्म बिर्सेर’ अर्जुनको हत्या गरेका भए ?
त्यसैले अनुमान गर्न सकिन्छ– कर्ण सवार रथको पांग्रा सोही समय त्यसरी नधस्सिएको भए महाभारत कथाले अर्कै मोड लिने थियो, कथाको संरचना अर्कै हुने थियो ।
महाभारतमा रथयुद्ध महादृश्यको जुन रचना गरिएको छ, त्यो लेखकीय परिकल्पनाको उत्कृष्ट नमुना थियो । महाभारतमा नाटकीय मोडका लागि ‘प्रप’ का रूपमा उपयोग गरिएको त्यो घोडाले तान्ने रथका ठूला–ठूला चक्रजस्ता पांग्राहरू तत्कालीन समयमा त्यति पुराना प्रविधि भने थिएन । यातायातका लागि पांग्राको प्रयोग हुन थालेको धेरै भएको थिएन । घोडाले तान्ने रथमा पांग्राको प्रयोग तत्कालीन समयको उत्कृष्ट प्रविधि थियो, जुन हजारौं वर्षसम्म निरन्तर रह्यो– वाष्पइन्धन वा जैविक इन्धनको प्रयोगले तिनलाई विस्थापन नगर्दासम्म । महाभारतको कालक्रम निर्धारणमा मतैक्यता भेटिँदैन । त्यस्तै महाभारतको कथा लेखनको अवधिको पनि, किनकि यो सुरुमा श्रुति–स्मृति परम्पराबाट निरन्तरता पाउँदै आएको कथा थियो । आर्य अतिक्रमणको युरोपेली सिद्धान्त र केही भातीय लेखकसमेतका अनुमानमा महाभारत करिब ३५०० वर्ष पहिलेको कथा हो । तर, अन्य पौराणिक र केही पुरातात्त्विक प्रमाणले यो करिब ६ हजार वर्षसम्म पुरानो हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै पुरातात्त्विक अन्वेषणमा पांग्राको प्राप्त अवशेष करिब ५५ सय वर्ष पुरानो भएको कालक्रम निर्धारण गरिएको छ । कृष्णको सुदर्शन चक्र पनि पांग्राको आविष्कारपछिको परिकल्पना थियो । यद्यपि ऋग्वेदमा उल्लेख भएको भनिने विष्णुको सुदर्शन चक्र झनै पुरानो उदाहरण थियो पांग्राको परिकल्पनाको ।
केही पुरातत्त्वविद्हरूले पांग्राको आविष्कार ६ हजार वर्षभन्दा पहिले नै भएको हुन सक्ने अनुमान गरेका छन् । यही प्रमाणका भरमा महाभारत युद्धको कालक्रम निर्धारण गर्न त सकिँदैन, तर यति भन्न सकिन्छ, महाभारतका रथ पांग्राको प्रयोगद्वारा सम्भव भएको यातायातको सुरुवाती र भव्य उपयोग थियो । पांग्रा र एक्सल (पांग्राको केन्द्रभागमा रहने अक्षयकिलो वा अक्षयदण्ड) को संयोजन वा युक्तिले त्यसरी चल्ने पांग्रावाला रथको निर्माण सम्भव भएको थियो । अहिले सुन्दा सामान्य लागे पनि हजारौं वर्ष पहिले त्यस्तो प्रविधि चमत्कारी नै थियो ।
महाभारतकालीन रथदेखि सर्वाधिक तीव्र गतिमा उड्ने उत्तर अमेरिकी एक्स–फिफ्टिन जहाजसम्मका कथा खासमा पांग्राकै आविष्कारले सम्भव भएको प्रविधिको कथा हो । तर, पांग्राको आविष्कारको पहिलो उपयोग भने यातायातका लागि भएको थिएन ।

अज्ञात आविष्कारक
‘म अल्छी छु । तर, तिनै अल्छी मान्छेले नै पांग्रा अनि साइकलको आविष्कार गरेका थिए किनकि तिनले हिँड्न वा भारी बोक्न मन पराएनन्,’ नोबेल पुरस्कार प्राप्त पोल्यान्डका पूर्व ाष्ट्रपति लेख वालेसको यो लाक्षणिक उद्धरण फरक सन्दर्भमा थियो । तर, जे भए पनि मानव सभ्यतालाई नै गति दिने पांग्राका आविष्कारक अज्ञात ‘अल्छी’ जो थिए ती धन्यबादका हकदार थिए । हिजोका तिनै ‘अल्छी’ हरूले नै आजको संसारलाई यो रफ्तारमा चल्न सम्भव बनाएका थिए ।
मान्छेका अधिकांश आविष्कार प्रकृति वा प्राकृतिक अवस्थाबाट प्रभावित भई गरिएका छन् । पांग्रा मात्रै त्यस्तो आविष्कार हो, जुन मान्छेको काल्पनिकीको उपज थियो । यो आविष्कारमा आधारित शृंखलाबद्ध नव–प्रवर्तनले मानव इतिहासलाई नै फरक दिशा र गति दिने काम गर्‍यो । मानव जातिको विगतबारे रुचि हुने जोकोहीलाई पनि लाग्दो हो– पांग्रा नभएको भए हामी अवश्य सभ्यताको यो दौडमा यहाँसम्म आइपुगेका हुँदैनथ्यौं ।
करिब २२ देखि २५ लाख वर्षअघिको सामान्य ढुंगे हतियारको निर्माण र प्रयोग मानवजातिको इतिहासमा प्रविधिको पहिलो आविष्कार थियो, जसले मान्छेलाई सांस्कृतिक मान्छेको आदि पहिचान दिलायो । सांस्कृतिक मान्छे अर्थात् जसले श्रम र दिमागी कसरतको उपयोगद्वारा जीवन सहज बनाउने उपाय खोजी गर्न सुरु गरेका थिए । लाखौं वर्षको निरन्तरताको परिणाम थियो क्रमशः आगोको आविष्कार, खेतीपातीको सुरुवात, माटोका भाँडा र पांग्राको आविष्कार, जसले सांस्कृतिक उद्विकासमा महत्त्वपूर्ण परिवर्तन सम्भव गरायो । नवपाषाणकाल र कांश्युगबीचको संक्रमणकालीन, करिब १० हजारदेखि ५५ सय वर्षको अवधिमा देखापरेको थियो पांग्राको आविष्कारका पुरातात्त्विक प्रमाणहरू । यस आविष्कारको महत्त्व अन्य आविष्कार र उपयोगको सन्दर्भमा हेर्नुपर्ने हुन्छ, जो पांग्राबिना सम्भव हुने थिएनन् । पछिल्ला आविष्कारहरूबिना केवल पांग्राको आविष्कार मात्रैले अवश्यै पनि मानवजातिका लागि त्यति धेरै योगदान गर्न सक्दैनथ्यो ।
कृषि, डुंगा, कपडा बुनाई, माटाको भाँडाका निर्माणजस्ता महत्त्वपूर्ण आविष्कारपछि मात्रै पांग्रा देखापरेको थियो । केही मानवशास्त्री ठान्छन्, ‘काठ जैविक अवशेष भएकाले अन्य अजैविक अवशेषजस्तो हजारौं वर्ष सुरक्षित रहन सक्ने सम्भावना कमै हुन्छ । त्यसैले पुराना पांग्राको अवशेष नभेटिएका हुन सक्छन् ।’ तर, पांग्राको आविष्कार र प्रयोग हाल अनुमान गरिएभन्दा पनि पुरानो हुन सक्छ । तथापि उल्लेखित सबै आविष्कारको स्तरोन्नतिका लागि पांग्राले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पांग्राको आविष्कारले तसर्थ मानव सभ्यता र सांस्कृतिक विकासलाई निरन्तर प्रभावित गरिरह्यो । यसले अर्थतन्त्र, समाज र जीविकोपार्जनका उपायहरूमा गहन र दूरगामी प्रभाव पारेको छ । सुरुवाती चरणको कृषिलाई व्यापारसम्म जोड्ने क्रमदेखि शक्तिशाली उपनिवेश र साम्राज्य विस्तारमा पांग्राको महत्त्वपूर्ण भूमिका थियो । पांग्राको सामर्थ्यले विश्वको नक्सा बदलिदिएको थियो । पुँजीवादको लय र गति पनि पांग्रामै सवार भएर भएको थियो, जसका अनेक उदाहरण हाम्रा सामुन्ने छन्, जुन सहजै अवलोकन र अनुमान गर्न सकिन्छ ।
त्यसैले भनिन्छ– मानव सभ्यता पांग्रामा सवार भएर यात्रा गरेथ्यो । अर्थात् पांग्राको कथा मान्छेको कथाको अभिन्न अंग हो । पांग्राको आविष्कारक को भनेर निश्चित रूपमा खुट्याउन नसके पनि सभ्यताको वाहक बृहत् इतिहास बोकेको पांग्राको भूमिकामा कुनै फरक परेको छैन ।

पांग्राको पहिलो उपयोग कुमालेको चक्र
प्रमाणमा आधारित अनुमान अनुसार, करिब ६ हजारदेखि ६२ सय वर्ष पहिले सुमेरियन कुमालेहरूले माटोका भाँडा बनाउन पांग्राको प्रयोग गरेका थिए । तर, त्यो पहिलो आविष्कार भद्दा प्रकारको थियो, जो सुस्त गतिमा कुनै अक्षकिलोको वरिपरि घुम्थ्यो । उपयोगीसिद्ध भएपछि त्यसैलाई सुधार गरी ठाडो अक्षकिलोमा अड्याएर चाहेको गतिमा घुम्ने पांग्रा निर्माण गरियो । त्यसपछि भने माटोका भाँडा बनाउने प्रविधि र शिल्पमा उल्लेखनीय परिवर्तन आयो ।
यस्तो पांग्राको सुरुवाती प्रमाणको अवशेष भने मेसोपोटामियाको उर भन्ने स्थान (वर्तमान इराक) मा फेला पारिएको थियो आजभन्दा अनुमानित पचपन्न सय वर्ष पहिले । आविष्कारक को थियो ? त्यो अज्ञातै छ । ठूला रूखका गोलाइ (मुढा) का चक्का काटेर त्यस्ता काठका पांग्रा बनाइएको हुन सक्छ । स्वाभाविक रूपमा ती पांग्रा धेरै खप्दैनथे । यस्ता पांग्रा बनाउने सीप द्रुत गतिमा प्रसार भयो र तिनमा स्तरोन्नति पनि सँगसँगै भयो ।
विविध स्वरूप र बहुउपयोगका सेरामिक अर्थात् माटाका भाँडाहरूको बढ्दो प्रचलनसँगै तिनको निर्माणको प्रविधिमा पनि नवप्रवर्द्धनहरूमार्फत क्रमशः स्तरोन्नति हुँदै गएको पाइन्छ । यद्यपि यसको निर्माणको आधारभूत प्रविधि अर्थात् पांग्राको प्रयोग भने यथावतै छ ।
पुरातात्त्विक सन्दर्भमा विभिन्न कालखण्डका माटोका भाँडाका टुक्राहरू मानवशास्त्रीहरूका लागि विगतबारे थाहा पाउने महत्त्वपूर्ण स्रोत हुन् । अन्न भण्डारण, खाना पकाउन, खानलगायत थुप्रै संस्कारमा यिनका प्रयोग हुन्थे, जुन आज पनि निरन्तर छ । सांस्कृतिक इतिहास निर्माण र उद्विकासमा महत्त्वपूर्ण भूमिका रहेको तिनै माटाका भाँडाको तीव्रतर विकासको आधारमा भने पांग्राको आविष्कार नै थियो ।

यातायातमा फड्को
आविष्कारको केही सय वर्षभित्रै पांग्रा भएका बाहन सुमेरुदेखि स्विट्जरल्यान्डसम्मै देखा पर्न थालिसकेका थिए । त्यस्ता बाहनलाई सहज रूपमा चलाउन बनाइएका काठका फल्याकहरू
बिछ्याइएका पटरीको हालसम्म थाहा लागेको पहिलो प्रमाण संयुक्त अधिराज्यको प्लमस्टिडमा थियो, जसको कालक्रम निर्धारण पनि करिब ५७ सय वर्ष पहिले भएको अनुमान गरिएको छ । त्यस्तै जर्मनीको किलमा पनि अनुमानित ५४–५३ सय वर्ष पुरानो त्यस्तै प्रकारका डोबहरू उत्खनन गरिएका थिए । त्यसको करिब तीन सय वर्षपछि अर्थात् आजभन्दा करिब ५३७० वर्ष पहिले पोल्यान्डमा भेटिएको एउटा सेरामिकको टुक्रामा पहिलो पटक पांग्रावाला बाहनको आकृति कुँदिएको थियो । अनुमान लगाउन सकिन्छ, त्यतिबेला जनावर, खासगरी गोरुगाडा वा बग्गी युरोपमा पनि लोकप्रिय भइसकेको थियो ।
त्यस्ता बाहनहरू गाडा, बग्गी आदिको स्वरूपमा हुन्थे, जुन सामान तथा मान्छे ओसारपसारमा उपयोग हुन्थे । पांग्राको यस्तो उपयोगका कारण घोडालगायत जनावरलाई घरपालुवा बनाउने अभ्यास पनि सँगसँगै व्यापक हुँदै गएको पुरातात्त्विक प्रमाणले बताउँछन् ।
यद्यपि त्यस्ता प्रमाणले पर्याप्त तवरमा बताउन सक्दैनन्– जनावरले तान्ने, पांग्राको सहायताले चल्ने गाडा, बग्गी, रथजस्ता यातायातको प्रविधिको प्रसार कहाँबाट र कतातिर हुँदै भूगोलका विभिन्न कुनामा फैलियो ? सन् १९८९ मा जर्मनीको एक पुरातात्त्विक स्थलमा उत्खननका क्रममा पांग्राको ओहोरदोहोरबाट बनेको डोब देखियो । उत्खननमा संलग्न पुरातत्त्वविद्हरूको अनुमानमा ती डोब थिए– त्यस क्षेत्रमा भेटिएका ढुंगाका विशाल संरचना निर्माणका लागि माटो र ढुंगा ओसार्न प्रयोग भएका गाडाका पांग्राका । ती डोबहरू करिब ५६५० वर्षदेखि ५४०० वर्षअघिका हुन सक्थे । त्यस्ता सुरुवाती प्रमाण प्रायः युरोप र चीनबाटै आएका छन् । यदाकदा अहिले पनि निर्माणस्थलतिर देखिने, गिट्टी–बालुवा आदि ओसार्न प्रयोग हुने एक पांग्रे गाडाको प्रारूपचाहिँ प्राचीन ग्रिसेलीहरूले गरेका थिए ।
बीचमा एउटा अक्षकिलोको भरमा सुस्त गतिमा घुम्ने काठको सामान्य चक्कादेखि धातुका उच्च प्रविधियुक्त पांग्राको निर्माण र तिनको निरन्तर स्तरोन्नति केही सय वर्षको अवधिमै भएको थियो । यस्तो नवप्रवर्द्धन विश्वका विभिन्न कुनामा समानान्तर रूपमा भइरहेकै थिए ।
त्यसयता केवल पांग्रा र तिनका आधारमा चल्ने यातायातका साधन मात्र बनेनन् बरु तिनकै कारण सिर्जित आवश्यकताले आजको बाटो, रेल, सुरुङ, एस्केलेटरसम्म बने । पांग्राको सर्वाधिक महत्त्वपूर्ण उपयोग यातायातका लागि भए पनि जलयात्रा, धागो कताइ, चर्खा, आदि पांग्राकै आधारमा सम्भव भएको थियो । पानी घट्ट, बिजुली उत्पादन गर्ने टर्बाइनलगायत अन्य उपयोगी आविष्कार र नवप्रवर्द्धन पनि छन्, जसले मानव समृद्धि र संस्कृति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
सुरुवाती चरणका त्यस्ता गाडा वा बग्गीहरू चार पांग्रे थिए भनी अनुमान लगाउन सकिन्छ । करिब ५६–५४ सय वर्षअघि नवपाषाणकालीन पोल्यान्डमा पाइएको सबैभन्दा पुरानो प्राप्त अवशेषमा चारपांग्रे गाडा चित्रअंकित थियो । इराकमा झन्डै उस्तै समय करिब ५३–५१ सय वर्षअघिको ठानिएको माटोका चित्रांकित चक्कीहरूमा पनि चार पांग्रा नै थिए ।
माथि उल्लेख गरिएको महाभारतको प्रसंगको रथ वा चक्रजस्तो पांग्राको पहिलो प्रामाणिक पुरातात्त्विक अवशेषचाहिँ सबैभन्दा पहिले करिब चार हजार वर्षअघिको टर्कीको एउटा समाधिस्थलमा पाइएको थियो । १९औं शताब्दीमा प्रवर्द्धन गरिएको भनिएको दुई पांग्रे साइकलको पांग्राको प्रारूप त्यही टर्कीमा प्राप्त पांग्रा नै थियो ।

दुई पांग्रेको दुई सय वर्ष
दुई पांग्रे साइकलको अहिलेको स्वरूप र प्रविधि, जसमा बेरिङ, स्प्रिंग, फलामे रिम, टायर, घुमाउने यन्त्ररचना, पेडल, ब्रेक छन्, त्यसको प्रारूप पछिल्लो पाँच हजार वर्षदेखिकै निरन्तरको मान्छेको साधना, लगाब र शृंखलाबद्ध नवप्रवर्द्धनको प्रतिफल हो । अहिले सामान्य लाग्ने दुई पांग्रे साइकल तत्कालीन समयमा जादुमयी आविष्कार थियो । जर्मनीको एउटा समाधिस्थलमा दुई पांग्रे चित्रांकित अवशेष भेटिएको थियो, जुन करिब ५४ सयदेखि ४८ सय वर्ष पुरानो भएको अनुमान गरिएको थियो । त्यस्ता दुई पांग्रे गाडा वा बग्गी जनावरले तानेर चल्थे । तर, दुई पांग्रे साइकल चाहिँ साँच्चैको उपयोगी सावित बाहन थियो र मान्छेको आवतजावतमा एउटा क्रान्ति बराबरकै उपलब्धि थियो ।
हामीमध्ये धेरैको साइकलसँग गाँसिएका अनेकन रमाइला स्मृति पक्कै छन् । साइकलसँगको पहिलो प्रेमका अनेक किस्सा होलान् । मेरो साइकलसँगको प्रेम कहानीमा भने अनेकन ट्रेजेडी छन् । तर, जे होस् पहिलो पटक एक्लै साइकल कुदाउँदा अनुभूत भएको स्वतन्त्रता र गौरवको महसुस अझै ताजै छ । साइकल यसर्थमा पनि स्वतन्त्रताको बाहन थियो ।
१९ औं शताब्दीको उत्तरार्धमा युरोपमा महिलाले साइकल चलाउनु सशक्तीकरणको सूचक मानिन्थ्यो । अल्प तथा कम विकसित मुलुकमा अहिले पनि त्यो मान्यता छ । पहिले सम्पन्नताको सूचक ठानिन्थ्यो साइकल । अहिले पनि धनीहरूका सोख र खेल सामग्री बनेको साइकल गरिबका लागि जीविकोपार्जनका आधार हुन् ।
पछिल्लो आधा शताब्दीमा मात्रै साइकलको प्रविधि र लोकप्रियता ज्यामितीय गतिमा बढेझैं लाग्छ । ट्रेक मडोना
वटरफ्लाई साइकल हालसम्मकै सर्वाधिक महँगो ठानिन्छ, जसको मूल्य पाँच लाख अमेरिकी डलर अर्थात् नेपाली साढे ६ करोड
रुपैयाँभन्दा पनि बढी पर्छ । साँच्चैको पुतलीका सक्कली पखेटाहरू टाँसेर सिंगारिएकाले यो महँगो भएको थियो र अधिकारकर्मीहरूले यसको चर्को विरोध गरेका थिए ।
चार सय वर्षअघि सन् १४१८ मा इटालियन इन्जिनिअर जिओभान्नी फोन्टानाले निर्माण गरेको मानवीय शक्तिको भरमा डोरीले तान्ने चारपांग्रे बाहन नै साइकल आविष्कारको प्रारूप थियो । सुरुमा अहिलेको साइकलमा हुनेजस्तो पेडल थिएन, खुट्टाले भुइँमा बल गरेर धकेलेपछि केही दूरीसम्म गुड्ने खालको थियो त्यो । पेडल वा पाउदानसहितको साइकलको विकास भने त्यसको झन्डै दुई दशकपछि भएको ठानिन्छ । जेम्स जोन्स्टन नामका एक स्विडिसले सन् १८३९ मा यस्तो पाउदानसहितको साइकल विकास गरेका थिए, यद्यपि त्यो पनि अहिलेको जस्तो भने थिएन । त्यसो त साइकलको हालको स्वरूप तयार हुनुपूर्व नै सन् १८३० मा बेलायतको लिभरपुल र म्यानचेस्टरबीच व्यावसायिक रेलसेवा नै सुरु भइसकेको थियो ।
दुईपांग्रे साइकलले नै मोटरबाट चल्ने पहिलो मोटरसाइकल र अटोमोबाइलको गोरेटो पनि निर्माण गरिदिएको थियो । पाठकका लागि यो जानकारी पनि रुचिकर हुन सक्ला, पहिलो हवाईजहाज उडाउने राइटब्रदर्शले सुरुमा संयुक्तराज्य अमेरिकाको ओहिओ राज्यको डेटन भन्ने सहरमा साइकल मर्मत पसल खोलेका थिए । उनीहरूले त्यही सीप र सामग्रीकै भरमा साइकलबाटै पहिलो ‘विन्ड टनेल’ को प्रयोग गरेका थिए ।
१९ औं शताब्दीको उतरार्धमा अहिलेको स्वरूप ग्रहण गरिसकेको र लोकप्रिय भएको साइकलका अनेकन उपकथा छन् । सन् १९३० को ‘ग्रेट डिप्रेसन’ को समयमा जब अटोमोबाइलको बजार संकुचित भयो तब हलिउड स्टारहरूमाझ समेत साइकल लोकप्रिय बन्न पुग्यो । दोस्रो विश्वयुद्धताका खनिज तेलको संकट भएपछि युरोप र उत्तर अमेरिकामा दैनिक जीवनमा साइकलको महत्त्व एक्कासि बढेको थियो । साइकलका यस्ता अनेक रुचिकर प्रसंग छन् ।
नेपालमै पनि पटक–पटकको भारतीय नाकाबन्दी र लामो समयसम्म खनिज तेलको आयात ठप्प भएका बेला साइकलको माग र प्रयोग ह्वात्तै बढेकै थियो । हाल वार्षिक रूपमा करिब १० करोड साइकल उत्पादन हुन्छन् र करिब एक अर्ब साइकल विश्वका अनेक कुनामा गुडिरहेका छन् भनिन्छ । फेरि पनि ती सबै पांग्राको आविष्कारपछिका उपकथा थिए ।

सांस्कृतिक उद्विकास र आधुनिकीकरण
पांग्राको आविष्कारले सम्भव गराएका अनेकन अन्य आविष्कार र तिनले मानव संस्कृति निर्माण अनि परिवर्तनमा खेलेको भूमिका मानवशास्त्रीका लागि सदैव रुचिको विषय हो । पांग्राको आविष्कार, यसको आदिउपयोग (जस्तै ः माटाका भाँडा बनाउनु) र यातायातको विकासले मानव सभ्यता–संस्कृतिलाई खासखास आकार दिएको थियो । पांग्राको आविष्कारले मान्छे र प्रकृतिको सम्बन्धलाई पुनर्परिभाषित गरिदिएको छ ।
पांग्राको प्रयोग मूलरूपमा यातायातका लागि हो । तर, स्वतन्त्र विचरण गर्न, धागो/चर्खा कात्न, हावा र पानीबाट शक्ति उत्पादन गर्न पनि यसको उत्तिकै महत्त्व छ । पांग्रा आविष्कारकै कारण कृषिको सुरुवाती बजारीकरण, सिँचाइ, पानीघट्ट, हावाबाट चल्ने मिल, धागो कात्ने चर्खा, टेक्सटाइलको विकास सम्भव भयो । धातु उद्योग र औद्योगिकीकरणमा पनि पांग्रा अनिवार्य थियो । आधुनिक यातायातको चमत्कारी विकास त हाम्रा आँखासामुकै यथार्थ भइगए । घडीदेखि जहाजसम्मका आधुनिक यन्त्रका आधार पांग्राको परिकल्पना नै थियो । यो यथार्थ बुझ्न कुनै गहन व्याख्या आवश्यक पर्दैन । यो प्राविधिक विकासले मान्छेको जीवनयापनको तौरतरिकादेखि सामाजिक सम्बन्धसमेतमा फेरबदल ल्याइदियो ।
जब समथर ठाउँमा बिनाअवरोध र छिट्टै सामानका भारीसहित आवतजावत गर्न सहज हुने भयो त्यसले व्यापार प्रवर्द्धनमा अतुलनीय सहजीकरण गर्‍यो । टाढाटाढाका बजारमा जब खासखास सामानको माग बढ्न थाले तिनले सीपको विशिष्टीकरणमा सहयोग पुर्‍यायो । यसले टाढाटाढासम्म व्यापार मात्रै विस्तार गरेन बरु सामाजिक सम्बन्ध र अन्तर्क्रियालाई पनि विस्तारित र घनिभूत बनायो । यसरी पांग्राले वस्तु व्यापारमा मात्र सहयोग गरेन सूचना र विचार आदानप्रदानलाई पनि प्रभावकारी बनायो । गणनायकदेखि सम्राट्सम्मलाई आफ्ना धारणा र इलाका विस्तारमा सहयोगी सावित भएका थिए बग्गी र गाडाहरू ।
पांग्राले नै थुप्रै अन्य आविष्कार र नवप्रवर्द्धनलाई सम्भव गरायो । त्यसैले यो एक आधारभूत आविष्कार थियो । औद्योगिक क्रान्तिको जगमा पनि पांग्राकै भूमिका थियो भन्नु अन्यथा होइन । औद्योगिक क्रान्तिले अभूतपूर्व रूपमा श्रमको स्वरूप, उत्पादन सम्बन्ध, आर्थिक असमानता र विविधीकरणमा पुरै उलटफेर ल्याइदियो । त्यसैको घनिभूत विकास र निरन्तरता थियो पछिल्लो चार सय वर्षको इतिहास ।
पांग्रामा सवार भएरै मानव सभ्यता आज यहाँसम्मको स्वरूपमा आइपुगेको हो । सामान्य पांग्राको असामान्य योगदानका भन्नुपर्ने कथा अनेक छन् । यो फुटकर कथा पूर्वाङ्ग मात्र हो ।

 

कोसेली

सिमानाको हुलिया

- प्रोल्लास सिन्धुलीय



हुजुर पक्कै साहेब भैलिनुपर्छ Û
यतैको भैलिनुहोला
कतै न कतैको भैलिनुहोला Û

म चौठी बाातर
उमेर— चार बीस दुई कम
वतन— जिल्ला बारा, वाड नं. सात, झिागटिया ।

ए बबुआ Û
बता दे त साहेबको—
तोहर माई के कोसलिया सुागुर घिसार्ने एसेस्बीले
हिज ‘मोतीहारी’ बोल्दिए छ कि
‘नयपालै’ छोड्दियो अरे ?

सत्य, धरोधर्म हुजुर
झोपडी सारेको होइन हमीले Û
थम्बै सरेको हो Û

ऊ बोलेर गएछ—
हम्रो जंगबादुर के नाम मे
उसी ने गाडेथ्यो अरे थम्बा
उसी ने सारिलियो त के बिगाड्यो ?
सोधिलिनू अरे अपनी साहेबसित
हो साहेब ?
होवैन बोलिदिनू न एक फेर
हमीलाई यनरकै हुनुको मन छ ।

नागरिक्ता ?
बरू ना चाइ हुजुर
घरी झिागटिया, घरी कोराइया
छाप्रै थीर नै खे
केन्हो को लिनु ?

दशगजा के
यो थम्बा नापे के बाद
जब यनर के सेना घुरेर हेर्छ—
हमर को हमारे थोपडा से भी रिस उठिहाल्छ Û
बाप ने ‘एनरकै झोपडी मे जन्मिस्’ भनेथे
एनर के होवे के चाही न हुजुर Û
अपनी पहिनी
वा दोसर के पहनी
यो थोपडा बिहारी जैसन दिख्छ त
का करी साहेब Û

यो बस्तीमा किसी ने
सालिक उठाइलिए थ्यो
भगुमान् मानिलिए थो
पूजा करिलिएा थो
पत्थर रहेछ हुजुर
हमीमाथि बोल्दैन Û

हम्रो एक छोकरा
गुर्खा मे भर्ती भएछ
यहाा जस्तै कोनै सिमाना मे छ अरे
अपने बाबुजी–माई जैसा किसीको
लात मारेर बसेछ कि लात खाएर बसेछ कुनि Û
नभनिदिनू है साहेब Û
ऊ बडो मुरख छ
अपनी बाबु(जी–माईको लात मारेको चाल पाए
खुकुरी दाप मे घुसारी ना बैठी Û

किरिम–उरिम दिनू न साहेब Û
घसेर तनी गोरा बनाइदिम् छाौडारु के
यी बबुआहरु के
यनरकाले तनिक–तनिक यनरकै देख्थे कि Û

ऊ बोलेर गएछ— व्यापार करेछन् तोहरा Û
बोली ना बिकल
इजेत ना बिकल
मुफ्तमा पाए त लगिहाल्छन् सबथोक
हमार अर्थोक क्यै ना बिकल
हमार उपर
घाटा के व्यापार कौन करेछ साहेब ?

हमार को पता छ— हुजुर साहेब नै हो
यनरको
वा केन्हो न केन्हो को Û

हम चौठी बाातर
वतन— घरी झिागटिया, घरी मोतीहारी
बस Û
यत्ति बताएर गइलिनुस्—

यस्तै कालो कैमरा ने
घरीघरी हमार चक्कर काटिराख्छ
फोटो खिचिराख्छ
आयु घट्छ भन्छन्
हमार आयु काा लग्छ साहेब ?
बेच्छ हो ?

Page 12
कोसेली

मनाङ जाने पुरानो बाटो

- सुरेश किरण

 

जहाँसुकै होस्, सामान्यतया बाटो खुलेपछि त्यसले अरू धेरैथोक खोलिदिन्छ । तर, बाटोले सबै विषय खुल्ने मात्र होइन, खुलिरहेका धेरै कुरा बन्द पनि गरिदिँदो रहेछ । सायद बाटो भन्नु नै यही हो । हामीलाई बाटोको राजनीति राम्रै थाहा छ, बाटोको अर्थनीति पनि बुझेका छौँ । सायद बाटोको संस्कृतिचाहिँ बिर्सेका छौँ ।
प्रसंग ७३ वर्षे सोनाम ग्याल्जेन लामाबाट सुरु गरौं, जो काठमाडौंबाट मनाङ जाने एउटै मात्र बाटोमा पर्ने दानाक्यूमा बस्छन् । दानाक्यूको खास अर्थ ‘ताना क्युँ’ हो । गुरुङ भाषामा यसको अर्थ हुन्छ– घाँस उम्रेको फाँट । अहिले दानाक्यूमा फाँट त देख्न सकिन्छ, तर घाँस भने पाउन सकिन्न । किनभने दानाक्यू अहिले बदलिइसकेको छ । दानाक्यूमा यो बदलाव ल्याउने माध्यम पनि उही हो, मनाङ जिल्लाको एक्लो बाटो !
ग्याल्जेनले जीवनमा कहिल्यै सोचेका समेत थिएनन्, ‘नेपाल’ बाट मनाङ जोड्ने कुनै बाटो पनि यो युगमा बन्नेछ । बाटो बन्ने कुरो त उनले पनि धेरै अघिदेखि सुन्दै आएका थिए । लागेको थियो, यहाँ पनि बाटो त बन्छ होला, तर हिँड्ने अवसरचाहिँ मुस्किलले पनातिले पाउँलान् कि ! तर, नसोचेको भइदियो । डुम्रेबाट लमजुङको बेसीसहर बाटो खुल्यो । त्यसको दुई दशक जति पछि बेसीसहरबाट मनाङी सदरमुकाम चामे हुँदै मनाङ भ्यालीसम्मै बाटो पुग्यो । मनाङमा गाडी गुड्ने एक मात्र बाटो यही हो । बाटोको अवस्था हेर्ने हो भने त्यसलाई बाटो त भन्न सकिन्छ होला, तर सडक भन्नचाहिँ नमिल्ला । तथापि मनाङका लागि भने यो जिल्लाकै ‘लाइफ लाइन’ हो । यो बाटो आएपछि चाहने हो भने अहिले एकै दिनमा काठमाडौं–मनाङ आउ–जाउ गर्न सकिन्छ ।
ग्याल्जेन सम्झन्छन्, आफू २० वर्ष छँदाको युवावय । २० वर्षे उमेरमा उनी पहिलो पटक काठमाडौं आएका थिए । त्यतिबेला मनाङ मात्रै होइन, लमजुङमा समेत कुनै बाटो बनिसकेको थिएन । मनाङदेखि काठमाडौं पुग्न करिब आठ दिन लाग्थ्यो । उनी आठ दिन हिँडेर काठमाडौं आइपुगेका थिए । काठमाडौं आउन दानाक्यूबाट पहिले तारुघाट पुग्नुपर्‍यो । त्यसपछि त्यो पनि नाघेर आरुघाट पुग्नुपर्‍यो । आरुघाटबाट तीन दिन हिँडेपछि रसुवाको त्रिशूली बजार । त्रिशूली बजारदेखि काठमाडौंसम्म मालवाहक ट्रकहरू आउ–जाउ गरिरहेका हुन्थे । खाली सिट मिलेछ भने त्यही ट्रकमा बसेर काठमाडौं पुगिन्थ्यो ।
हुन त मनाङबाट काठमाडौं पुग्ने एउटा अर्को बाटो पनि थियो । मनाङबाट हिँडेर पोखरा पुग्ने । अनि पोखराबाट विमान चढेर काठमाडौं झर्ने । ग्याल्जेनचाहिँ त्रिशूलीको बाटो हुँदै काठमाडौं पुगेका थिए । त्यसरी जाँदा उनको पिठ्युँमा एउटा भारी पनि थियो, जसमा राखिएको थियो खाना पकाउने भाँडो र केही खानेकुरा । मनाङेहरू काठमाडौं पुगे पनि त्यहाँ उनीहरूको कुनै काम भने थिएन । ग्याल्जेन मूलतः ‘धर्म कमाउन’ काठमाडौं आएका थिए । मनाङवासीहरू काठमाडौंको स्वयम्भू र बौद्धनाथको दर्शन गर्न पाए जीवनै सार्थक भएको मान्छन् । त्यतिबेलाको स्वयम्भू र बौद्धनाथ नै मनाङवासीको मक्का र मदिना थियो ।
काठमाडौं पुग्न हप्तौं हिँड्नपर्थ्यो, तर बाटोमा पसल कहीं भेटिँदैनथ्यो । एक–दुई ठाउँमा पसल भेटिइहाले पनि त्यहाँ चियाबाहेक अर्थोक पाइँदैनथ्यो । बाटोमा आफैं पकाउँदै, खाँदै हिँड्नुपर्थ्यो । ग्याल्जेनलाई सम्झना भएसम्म उनी काठमाडौं आउँदा यहाँ एक कप चिया गिलासको १० पैसा
थियो । अरू सामानको भाउ थाहा भएन किनभने काठमाडौंमा किनेर खानुपर्ने कुरै थिएन । धर्मशालामा बस्ने, आफैं पकाएर खाने । १५ दिन जति यसरी नै काठमाडौं बसेपछि त्यही बाटो भएर फर्कने । यसरी सम्पन्न हुन्थ्यो काठमाडौं–तीर्थयात्रा ।
तर, बाटो पुगेपछि काठमाडौंको यस्तो यात्रा पूरै कथामा बदलियो । त्यो २०६९ सालको कुरा हो । चामेमा पहिलो जिप आइपुगेको थियो । पूरै गाउँ उल्टेर गाडी पूजा गरेको थियो । ग्याल्जेन सम्झन्छन्– ओहो, मनाङमा गाडी ! मलाई त सपना देखिरहेजस्तो लागेको थियो ।
मनाङ पुग्ने यो बाटो त्यति लामो पनि होइन । लमजुङको बेसीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म जम्मा ९६ किलोमिटर । त्यहाँबाट मनाङ भ्यालीसम्म ३० किलोमिटर । त्यसलाई बाटो पनि के भन्नु, ढुंगाको चाङ मिलाएर राखिएको ट्र्याक भन्नुपर्ला । अंग्रेजीमा ‘अफरोड’ भनेरै लेखिएको छ । पूरा कच्ची नै छ । बाटो बनेको दस वर्षभन्दा बढी भइसक्यो, अहिलेसम्म ‘पाकेको’ छैन । तर, कच्ची सडकमै बेसीसहरदेखि चामेसम्म फोर ह्विलर बोलेरो चल्छ, प्रतिव्यक्ति रु. २५०० भाडा । बोलेरो चलाउने चालक जम्मै २२–२३ वर्ष उमेर समूहकै मात्र छन् । बाटो यस्तो छ कि उनीहरू त्यहाँ सीपले भन्दा पनि आँटले गाडी चलाउँछन् । घरमा बालबच्चा भएका चालकहरू त्यस्तो आँट गर्न सक्लान्जस्तो लाग्दैन । मर्स्याङ्दी किनारैकिनार खोलिएको यो बाटोमा कति गाडीको पाता खुस्किन्छ, कतिको स्टेरिङ भाँचिन्छ त्यो अब सामान्य भइसक्यो । गाडी बिग्रियो कि बेसीसहरमा फोन गरेर मिस्त्री बोलाउनुपर्छ । बाटोमा कति ठाउँ यस्ता खण्डहरू आउँछन्, जहाँ गाडी चलिरहन्छ, तर यात्रुको श्वास रोकिएलाझैं हुन्छ ।
नेपालमा पहाड उक्लिने बाटो छ, तराई झर्ने बाटो पनि छ । तर, यात्रुलाई हिमालपारिको गन्तव्य पुर्‍याउने बाटो भने यही एउटा मात्रै छ । नेपालमा मनाङ र मुस्ताङलाई हिमालपारिको देश भनिन्छ । मनाङको यो बाटोले हिमाली भूभाग उक्लिँदै यात्रुलाई ३५०० मिटरको उचाइसम्म पुर्‍याइदिन्छ ।
यो बाटो बनाउन बेस्कन दुःख झेलिएको थियो । बाटो खोल्न डोजर चाहिन्छ । तर, डोजर लैजाने बाटो थिएन । त्यसैले डोजर हेलिकप्टरले उठाएर त्यहाँ पुर्‍याइएको थियो । पहाड फुटाउन जिलेटिन नपाएर निकै वर्ष काम रोकियो । आखिर नेपाली सेना नै मैदानमा उत्रेर निर्माण पूरा गर्नुपर्‍यो । यो बाटो बनाउँदा तीन सैनिक जवानलगायत नौ सर्वसाधारणसमेत गरी १२ जनाको ज्यान गएको रहेछ । बाटो निर्माणमा ज्यान गुमाएका मान्छेहरूको नाम त्यही बाटोको एउटा ढुंगामा टाँसिएको छ शिलापत्र बनाएर ।
मनाङ पुग्ने यो बाटो खोलिएसँगै जिल्लामा पर्यटन व्यवसायको बाँधै खोलेजस्तो भयो । बेसीसहरको बाटो नखुलिन्जेल पर्यटकहरू डुम्रेदेखि हिँडेरै मनाङ जान्थे । त्यो करिब एक महिनाको प्याकेज हुन्थ्यो । बेसीसहरसम्म बाटो पुगेपछि मनाङ यात्राको मुख्य नाका नै बेसीसहर हुन थाल्यो । पर्यटकहरू बेसीसहरसम्म गाडीमा जाने र त्यहाँबाट मनाङसम्म पैदलयात्रामा निस्कने गर्थे । अहिले मनाङसम्मै गाडी पुग्ने भएकोले एक साताको प्याकेज बनाएर पर्यटकहरू आउन थालेका छन् । यसले मनाङलाई पूरै पर्यटकीय जिल्ला बनाइदिएको छ । होटलहरू प्रशस्त खुल्न थालेका छन् । अहिले मनाङवासीको मुख्य व्यवसाय नै होटल भइसकेको छ । यहाँको सबैजसो घरमा अहिले होटल सञ्चालनमा छ । मनाङकै स्थानीय होटल व्यवसायी छिरिङ गुरुङका अनुसार, अहिले मनाङमा होटल नभएको घर १० प्रतिशत जति मात्रै होला । छिरिङ आफैं पनि पहिले काठमाडौंको रणमुक्तेश्वरस्थित आरबी कम्प्लेक्समा गार्मेन्ट पसल चलाउँथे । मनाङमा पर्यटनको बाढी पसेपछि उनी काठमाडौंको पसल बेचेर आफ्नै जन्मथलोमा होटल चलाउन आएका थिए ।
गुरुङ समुदायको बाहुल्य भएको यो ठाउँमा गुरुङबाहेक अन्य समुदायले जग्गा किनबेच गर्न पाउँदैनन् । त्यसैले होटल सञ्चालकहरू जम्मै गुरुङ नै छन् । यहाँ हुने कुनै पनि निकायको निर्वाचनमा जित्ने पनि गुरुङ नै हुन्छन्, हार्ने पनि गुरुङ नै । गुरुङ समुदायको एकल पकड भएकाले जिल्लाको कला, संस्कृति र रहनसहनले अझै आफ्नो मौलिकता कायम गरिरहेको देखिन्छ । तथापि पर्यटन व्यवसायले स्थानीय मौलिकपनमाथि गर्ने स्वाभाविक प्रहारबाट भने मनाङ पनि क्रमशः प्रभावित हुँदै जान थालेको छ । पर्यटक धेरै आउन थालेकाले उनीहरू गुरुङ खाना होइन मनाङका गुरुङहरू नै पर्यटकको खाना खान थालिसकेका छन् । गाडी चल्न थालेपछि अहिले मनाङमा ती जम्मै परिकार पाइन थालेका छन्, जो काठमाडौंको गल्ली गल्लीका भट्टी पसलहरूमा पाइन्छ । मनाङमा सर्वाधिक पाइने जन्तु त चौरी हो । तर, अर्डर गर्‍यो भने यहाँ राँगाको छोय्ला पनि पाइन्छ । कोक, फान्टा, चाउचाउ, चिप्सजस्ता जंक फुड मनाङका जम्मै रेस्टुरेन्टमा पाइन्छ । जम्मै खानेकुरा काठमाडौंबाट आउने भएपछि मनाङका रैथाने परिकारहरू मनाङबाटै हराउन थालेका छन् । अहिले मनाङमा कृषि गर्ने मान्छे पाउन गाह्रो भइसकेको छ । खेत भएका मानिसहरू पनि खेतमा काम गराउन गोरखाबाट कामदार झिकाउँछन् ।
मनाङको खास उत्पादन स्याउ, आलु, फापर आदि हो । आलु बालीका लागि गोडमेल हातैले गर्नुपर्ने हुन्छ । किनभने माटोमा ढुंगा धेरै हुने भएकाले ट्याक्टरले खेत खन्न मिल्दैन । त्यसमाथि फलेको आलु बजारतिर पठाउने हो भने पनि ढुवानी भाडाले प्रतिस्पर्धा गर्न सक्दैन । मनाङदेखि बेसीसहरसम्म पुर्‍याउन गाडीमा प्रतिकिलो आलुको रु. १५ भाडा दिनुपर्छ । काठमाडौं ल्याउन अर्को रु. ५ थप्नुपर्छ । किलोको २० रुपैयाँ त भाडा नै लाग्ने भयो । अनि बेच्ने कतिमा ?
फापर पनि यहाँको मुख्य बाली हो । त्यसैले बेच्ने हो भने बाहिरै लैजानुपर्छ । त्यसले पनि भाडाका कारण प्रतिस्पर्धा गर्न सक्दैन । कृषिका सवालमा मनाङमा एउटा अनौठो चलन रहेछ । यहाँका स्थानियले बुद्ध धर्म मान्छन्, त्यसैले बालीमा कीरा लागे पनि औषधि छरेर मार्ने चलन रहेनछ । आफ्नो बालीमा लागेको कीरा मार्नुलाई पनि यहाँ हिंसा मानिँदोरहेछ । त्यसैले पोहोर साल कीरा लागेर सबैको फापर बिग्रेको थियो । त्यति हुँदा पनि कीरा मार्ने औषधि भने कसैले छर्केन ।
महिलाहरूको समूह बनाएर कृषि उत्पादनमा लागिरहेकी स्थानीय महिला स्वयंसेविका मेङ्खु गुरुङका अनुसार, बालीमा कसैले औषधि राख्न लागेको थाहा पाए ठूलाहरूले रोकिहाल्छन् । उनका अनुसार, मनाङको फापर घरेलु प्रयोगका लागि मात्रै हो । कसैलाई अलि बढी फापर चाहिए ऊ मनाङकै फापर किनेर खान सक्दैन । त्योभन्दा बरु काठमाडौंदेखि गाडीमा आएको फापर नै सस्तो हुन्छ ।
मनाङ स्याउ उत्पादनको लागि बरु सबैभन्दा उपयुक्त ठाउँ हो, देशकै सबैभन्दा सानो जिल्ला भए पनि देशको सबैभन्दा ठूलो स्याउ फार्म भने यहीं छ । मनाङको भ्राताङमा खोलिएको ‘फार्म हाउस’ नेपालकै सबैभन्दा ठूलो स्याउ उत्पादन गर्ने कम्पनी हो । यो फार्म हाउसले वार्षिक चार लाख किलो स्याउ उत्पादन गर्छ । फार्म हाउस ठूलो त छँदैछ, यहाँ घुम्न पनि ४०० रुपैयाँको टिकट काट्नुपर्छ । बाटो आएपछि यहाँको स्याउ बजार पुर्‍याउन सजिलो भएको छ ।
मनाङ हिमाली क्षेत्र भएकाले यहाँ सामान बोकाउन पहिलेपहिले झोपा (चौंरी) प्रयोग हुन्थ्यो । बीचमा खच्चडको प्रयोग हुन थालेपछि चौंरी हरायो । चौंरीभन्दा खच्चड सस्तो पर्ने र पाल्न पनि सजिलो हुने भएकाले भारी बोकाउन खच्चड प्रयोग थालिएको थियो । बाटो खुलेर गाडी चल्न थालेपछि खच्चडको प्रयोग पनि बन्द भयो । पहिले पहिले बाटो हिँड्दा खच्चडको घाँटीमा झुन्ड्याइएको घन्टी टिन्टिन् टिन्टिन् बजिरहेको सुन्न पाइन्थ्यो । अहिले त्यस्तो आवाज आकलझुकल मात्रै सुन्न पाइन्छ ।
दानाक्यूका सोनाम ग्याल्जेनसँग पनि आठ वटा घोडा थियो । ट्रेकिङमा जाने पर्यटकलाई घोडा चढाउनुपर्थ्यो । गाडी आएपछि घोडाहरू ‘बेरोजगार’ भए । ग्याल्जेनले आफ्नै भाइहरूलाई प्रतिघोडा १५/१६ हजारमा बेचे । अलि हिँड्न सक्ने घोडाको मूल्य अहिले २ देखि ३ लाख रुपैयाँसम्म पर्छ ।
मान्छेले चौंरी र खच्चड पाल्न बन्द गरेपछि खर्कहरूमा बनाइएका ठूल्ठूला गोठहरू पनि अहिले बेकाम भएका छन् । अहिले मनाङको मुख्य गाउँभन्दा अलि पर पाखो खर्कमा बनाइएका त्यस्ता पचासौं गोठ अलपत्र फालिएका भेटिन्छन् । पहिले पहिले साउन, भदौतिर बाली पाकेका बेला बस्तुभाउले बाली खाइदेला भनेर तिनीलाई खर्कतिरको गोठमा राख्ने गरिन्थ्यो । अहिले मनाङमा न चौंरी, खच्चडजस्ता बस्तु छन्, न तिनीहरूबाट बचाउनुपर्ने खेतै छ । धेरै वर्षदेखि प्रयोग नगरी त्यागिएका खर्कहरू हेर्दै उराठलाग्दा छन् । हिमालको सुनसान भिरालोमा ती गोठहरू बनाउन कति मिहिनेत र समय लाग्यो होला । तर, त्याग्न एक निमेष पनि लागेन ।
मनाङ दुर्गम हिमाली जिल्ला हो, स्थानीयवासी लगायत पर्यटकलाई आउ–जाउमा सहज होस् भनेर यहाँ एउटा विमानस्थल पनि बनाइएको थियो । मनाङको हुम्दे भन्नेमा बनाइएको उक्त विमानस्थलको नामै हुम्दे विमानस्थल राखिएको थियो । मनाङमा बाटो आएपछि चौरी र खच्चडको प्रयोग मात्र होइन, यो विमानस्थलको प्रयोगसमेत बन्द छ ।
विसं २०३७ फागुनदेखि सञ्चालनमा आएको यो विमानस्थल २०६९ साल अर्थात् यो बाटो आरम्भ भएको वर्षदेखि नै बन्द भएको छ । ३३५३ मिटरको उचाइमा बनाइएको यो विमानस्थल नेपालको सबैभन्दा उच्चस्थानमा रहेको विमानस्थल हो, विश्वकै उच्चस्थानमा रहेका विमानस्थलमध्ये पनि एक मानिएको छ यसलाई । सगरमाथाको फेदमा बनाइएको लुक्ला विमानस्थलको उचाइ २८४५ मिटर मात्रै हो । यो कीर्तिमानी हुम्दे विमानस्थलमा पहिले दैनिक एक उडान हुने गर्थ्यो । पछि त्यो घटेर साताको एक उडान हुन थाल्यो । अहिले त्यो पनि बन्द भएकाले दुई जना सुरक्षाकर्मी राखेर विमानस्थलमा ताला लगाइएको छ । विमानस्थलको टावरमा राखिएको मौसम जाँच्ने मेसिनले भने अझै काम गरिरहेकै छ । अहिले विमानस्थलको काम त्यो मेसिन प्रयोग गरी मनाङको मौसम ‘फोरकास्ट’ गर्नुमै सीमित छ ।
व्यवसायी छिरिङ भन्छन्, ‘एयरपोर्ट भएर के गर्नु । एक त मुख्य गाउँभन्दा निकै टाढा छ । अर्को, मौसमले गर्दा उडान कहिल्यै निश्चित हुँदैन । मानिसलाई विमान पर्खिरहनुभन्दा गाडीमा हुइँकिनु नै सजिलो भएको छ ।’ गाडी गुड्ने एउटा बाटोले विमान उड्ने एयरपोर्टै बन्द गरायो । के यो बाटोको शक्ति होइन ?
हिउँदे याममा मनाङमा बस्न सकिँदैन । पूरै क्षेत्र हिउँले ढाकेर भयंकरै चिसो हुन्छ । चिसो बढेपछि मनाङवासीहरू तल झर्न थाल्छन् । अहिले अंग्रेजी संवत्को नयाँ वर्षसम्मै पर्यटक आउने भएकाले ‘न्यु इएर’ सम्म मनाङीहरू उतै बस्छन् । त्यसलगत्तै होटलहरू बन्द हुन्छन् र तलतिर झर्न थाल्छन् । पहिलेपहिले त मनाङबाट झरेर उनीहरू बस्ने हुम्देतिरै हो । अझै तल झरे लमजुङको बेसीसहरसम्म हो, तर बाटो खुलेपछि उनीहरू सिधै काठमाडौं झर्न थालेका छन् । हिउँदमा अधिकांश मनाङवासी अहिले ‘तल झर्ने’ भनेकै काठमाडौं हो । आजभोलि काठमाडौंमा लगभग सबै मनाङीको घर छ । जसको घर छैन उसले कोठा भाडामा लिएको छन् । हिउँदभरी उनीहरू काठमाडौं आएर बस्छन् । मनाङीहरू धर्ममा कति आस्थावान् हुन्छन् भने काठमाडौं रहुन्जेल कहिले स्वयम्भू, कहिले बौद्ध त कहिले नमोबुद्ध पुगेर पूजापाठ गरिरहेका हुन्छन् । पूजापाठ गर्दागर्दै उनीहरूको हिउँद बित्छ । जाडो घटेपछि एक–एक गरी फेरि मनाङतिरै फर्किन्छन् । एउटा बाटोले उनीहरूको रहनसहनमा ल्याइदिएको परिवर्तन हो यो ।
बाटो खुलेसँगै पर्यटक बढ्न थालेपछि बाटो छेउछाउमा साना–साना बस्तीहरू पनि बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्ग बनेपछि तराईका विभिन्न स्थानमा नयाँनयाँ नगरहरू बनेका थिए, ठीक त्यसैगरी मनाङको यो सानो बाटोले पनि ठाउँ ठाउँमा नयाँनयाँ बस्तीहरू बनाइदिएको छ । जस्तो बाटोले नछोएको ठाउँमा बस्ने स्थानीयहरू हुम्दे आए । भ्राकाका स्थानीयवासी भुम्जे आए । बाटोकै बीचमा पिसाङ थपियो । कुनै बेला जंगल भएका ठाउँहरू पनि अहिले पर्यटक बस्ने होटल र रेस्टुरेन्टले भरिन थालेका छन् ।
निःसन्देह मनाङ नेपालकै सुन्दर र रमणीय पर्यटन गन्तव्य हो । पर्यटकहरू मनाङ घुम्दा पैदलै तिलिचो ताल जान्छन् र उतैबाट थोराङ ला हुँदै मुस्ताङ जान्छन् । मुस्ताङ पुगेपछि त्यहाँबाट गाडी चढेर पोखरा पुग्छन् । यति घुमेपछि अन्नपूर्ण ट्रेकमा पर्ने यो क्षेत्रको गन्तव्य समाप्त हुन्छ । सिजनका बेला दैनिक औसत सय जना पर्यटक मनाङ पुगेका हुन्छन् ।
मनाङमा विभिन्न गाउँ छन् । प्रमुखचाहिँ मनाङ गाउँ हो । अहिले गाडी मनाङ गाउँसम्म पुग्छ । तर, गाउँभित्र गाडी छिर्न दिँइदैन । त्यसपछिको यात्रा पैदलै गर्नुपर्छ । तर, बाटो आएपछि मनाङ गाउँमा पर्यटक बढे पनि स्थानीयवासी घट्दै गएका छन् । पहिले हप्तौं लगाएर पुग्नुपर्ने ठाउँ अहिले एकै दिनमा पुग्न सकिने भएकाले मनाङवासीहरू मनाङ छोड्दै कोही काठमाडौं, कोही पोखरा त कोही विदेश ‘सेटल’ हुँदै छन् ।
वास्तवमा मनाङमा विकास ल्याउन बाटो खोलिएको थियो । तर, मनाङवासीले बाटोलाई विकास ल्याउन होइन, आफू बाहिर जान बढी प्रयोग गरे । मनाङवासी बाहिर जानुको अर्थ हो– बिस्तारै मनाङ आफैँ बाहिरिनु । बाटोको सही उपयोग हुन सकेन भने त्यही बाटो हुँदै मनाङमा अरू नगर पस्ने खतरा प्रबल हुन्छ । बाटो मनाङ पुग्न हो, मनाङ स्वयम्लाई बाहिर पुर्‍याउन होइन ।

कोसेली

'बडीबिल्डर’ को शुभविवाह प्रकरण

- सुकन्या वाइबा

‘थाहा’ का रूपचन्द्र विष्टको २४ औं स्मृति दिवसको पूर्वसन्ध्यामा म उनकै स्मृतिहरूमा पसिरहेको छु । कस्ता थिए रुपचन्द्र ? के सोच्थे उनी ? ती दिनतिर पसिहेरे म देख्छु उनको एक सग्लो
‘बडीबिल्डर’ अनुहार ।
विष्टको चर्चा गर्नुअघि म थोरै नीजि कुरा गर्छु है त !
वास्तवमा म सार्वजनिक रूपमा बोल्ने, लेख्ने गर्दिनथेँ । उबेला बोल्ने, लेख्ने विषयमा हाम्रा बाबुले सहयोग गर्थे । उनैले लेखिदिएका लेखन हुबहु कण्ठ गरेर म काम फत्ते गर्थेँ ।
बाबुको निधनपश्चात् त्यो जिम्मेवारी दिदी पारिजातको काँधमा पर्‍यो । लेख्न, बोल्न दिदीकै कारण मलाई सजिलो हुन्थ्यो । कतिसम्म भने पारिजात जीवित छँदा विद्यालयमा प्रधानाध्यापिकाको हैसियतमा मैले बेलाबखत बोल्नुपर्ने मन्तव्यसमेत लेखेर राखिदिन्थिन् ।
दिदीको निधनपश्चात् उनको स्मृतिग्रन्थ प्रकाशन गर्ने निधो भयो । सधैँ साथै रहेकी बहिनीको नाताले मेरो पनि एउटा लेख आह्वान गरियो । अबका सारथि भए– निर्मल लामा । उनको उत्प्रेरणा र सहयोगमा दिदीको निधनपश्चात् लेखनको काम चलाएँ । उनकै हौसलामा सकी नसकी लेखेँ ।
दिदीमाथिको मेरो लेख पढेर महेश मास्केले एक दिन भने, ‘कलम त चल्दो रहेछ नि दिदी, लेखे हुन्थ्यो नि ।’
‘खै, के लेख्ने ? कुन विषयमा लेख्ने ?’
‘पारिजातलाई भेट्न आउने साहित्यकारहरूबाटै सुरु गर्नुस् ।’
मेरो घैंटोमा घाम लाग्यो । दिदीसँग नजिक रहेका विशिष्ट व्यक्ति र साहित्यकारका किताबमाथि लेख्ने मेरो हैसियत होइन । तर, उनीहरूलाई मैले कसरी चिनेँ, दिदीसँग कस्ता कस्ता कुरा हुन्थे, त्योबारे केही थाहा छ, सम्झना पनि छ । ‘यसबारे त केही लेख्न सक्छु’ जस्तो लाग्यो र दुई–चार जनाबारे कलम चलाएँ ।
यसरी केही व्यक्ति सम्झना आउनुको पनि विशेष कारण हुने रहेछ । यहाँ त्यस्तै एक व्यक्तिको सम्झना कोट्याउँछु । उनलाई सम्झनुको कारण हो– हुरीबतासको मौसम । अहिले हुरीबतासकै मौसम छ । यही मौसमले मेरो मन भरङ्ग बनाउँछ । किनभने हाम्रो घर वननजिकै छ । ठूलो हुरी चल्दा बडेमानका रूखका हाँगाहरू हाम्रो घरको आँगनमा खस्थे । कहिलेकाहीँ त सग्लो रूखै ढलेर सिंगो आँगनमा ढसमस्स पल्टिन आइपुग्थ्यो ।
यसरी एक पटक रूखको निकै ठूलो हाँगा आँगनमा खसेको थियो । जोड लगाउँदा पनि कसैले तान्न त के, हल्लाउनसम्म सकेन । संंयोगवश हाम्रो घरमा रूपचन्द्र विष्ट टुप्लुक्क आइपुगे । थाहा दर्शनका प्रवर्तक विष्ट पारिजात दिदीलाई भेट्न आएका थिए ।
हामीले हल्लाउन समेत नसकेको ठूलो हाँगा पन्छाउन उनी अघि सरे । उनी एक्लैले हाँगा तानेर ल्याए । उनको शारीरिक शक्ति देखेर हामी कायल भयौंँ । अहिले हुरी चल्दा विगतको त्यही घटना ताजा भएर आयो । र, दिदीसँग जोडिएका विष्टको प्रसंगबारे केही लेख्न पनि मन लाग्यो ।
खाइलाग्दो ज्यान मात्रै भनेर पुग्दैन, उनको शरीर हेर्दा बडीबिल्डरजस्तो लाग्थ्यो । शारीरिक गठन र सुन्दर रूपको धनी थिए विष्ट । सेतो सुट र रातो टाईमा अति आकर्षक देखिन्थे । पछि पो अधिकांश गरिब जनताले जस्तै झुत्रेझाम्रे लुगा लगाउन थाले ।
पारिजात दिदीको ‘शिरीषको फूल’ छापिए पश्चात् उनी पुतलीसडकको हाम्रो डेरामा आएका थिए । उनले त्यो उपन्यासको एक–एक हरफलाई लिएर दिदीसँग बहस गरेको मेरो सम्झना गहिरिएर बसेकै छ । त्यसबखत पनि उनी त्यही सेतो सुट र रातो टाईमा आएका थिए ।
पञ्चायतकालमा उनी मात्रै यस्ता सांसद थिए, जसको विरोधी आवाज संसद्मा घन्किन्थ्यो । त्यसताका सोझो विरोधको गुन्जाइस कम थियो । तत्कालीन संसद्मा प्रधानमन्त्रीद्वारा आविष्कार गरिएको ‘भक्तिपूर्वक’ भन्ने शब्दको माहोल थियो । त्यसैले विष्ट विरोधको स्वर परिस्थितिलाई मध्यनजरमा राख्दै मेटाफोरिक शैलीमा व्यङ्गात्मक ढंगले व्यक्त गर्थे । के–के भयो संसद्मा, को को बोले र उनीहरूका प्रस्तुति कस्ता हुन्थे, प्रायःजसो सुनाइरहन्थे ।
विष्टको ‘शुभविवाह प्रकरण’ पनि रोचक छ । सो विवाहबारे एक परिचित कमरेड यसरी बयान गर्थे, ‘विवाहमा एक कप चियाको पनि प्रबन्ध थिएन, प्रबन्ध थियो त केवल एक जोडदार भाषणको ।’ 
साँच्चैको प्रगतिशील विवाह रहेछ भनेर दिदी र मैले अनुमान लगायौँ ।
यसरी विवाह गरेका विष्ट थाहा दर्शनको प्रतिपादनपश्चात् पनि समय निकालेर पारिजात दिदीलाई भेट्न आउँथे । दिदीको सिरानमाथि खुला पर्खालमा सबैले देख्नेगरी उनले सेतो चकले सुन्दर अक्षरमा लेखेका थिए, ‘थाहा’ । यस्तै उनले सिद्धार्थ वनस्थली विद्यालयमा पनि लेखिदिएका थिए रे, विद्यालयका तत्कालीन प्रधानाध्यापक लक्ष्मण राजवंशीले नै भनेका । राजवंशीलाई उनले मण्डले भएको आरोपसमेत लगाएका थिए रे !
थाहा दर्शन अँगालेपश्चात् उनको बोली र व्यवहारमा अलि परिवर्तन भएझैं हामीलाई भान भयो । एक भेटमा उनले दिदी र मलाई ‘तँ’ सम्बोधन गरे । हामीलाई उनको यस्तो व्यवहार पटक्कै मन परेन । तर, उनको आफ्नै भाषाशैली थियो, जसले मन पगाल्थ्यो । ‘अमानव, कमानव, नमानव’ भन्ने विषयमा विश्लेषणले भरिएको उनको धारावाहिक भाषणअघि हाम्रो विरोध बिलाएर जान्थ्यो ।
विष्टको अन्तिम घडीको स्मरणले मन खिन्न हुन्छ । साथीहरूबाट प्राप्त समाचारअनुसार, उनको निधन दुःखद रूपमा भएको थियो । यसो भनौँ, उनले चाहेरै मृत्युवरण गरेका थिए । उनी औषधि सेवन गर्नसमेत मान्दैनथे रे । यदि यो तथ्य साँचो हो भने सायद यो पृथ्वी अथवा यो समाज उनलाई साँघुरो भयो । सायद उनको दर्शन मनन गरिदिने मानिसहरूको खडेरी भयो । सायद उनी समयभन्दा चाँडै जन्मिए यस धरतीमा ।
उनी हेटौंडावासीका एक चहेतु जननेता थिए । नेपालको वाम आन्दोलनका एक जुझारु धरोहर थिए । सुनेकी छु, रूपचन्द्रको सालिक उनकै कर्मथलोमा अनावरण भइसकेको छ । जीवन रहे एक पटक दर्शन गर्ने उत्कट इच्छा छ ।