डाक्टरी पढाउँदै स्थानीय सरकार
सुर्खेतको लेकबेंसी नगरपालिका–१ का नेत्रप्रसाद पौडेललाई एउटै चिन्ताले छोपिराख्थ्यो– डाक्टर बन्ने सपना हुर्काइरहेको छोराका लागि कसरी त्यतिका ठूलो खर्च बेहोर्न सकुँला । पढाइमा अब्बल छोराको सपना पूरा गर्न भएभरको जमिन बेच्न तयार भइरहेका बेला गाउँपालिकाले एमबीबीएस पढाउन छात्रवृत्ति दिने सूचना निकाल्यो । अनि त नेत्रले नसोचेको कुरा भयो ।
छोरा नितेश नगरपालिकाको खर्चमा काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा एमबीबीएस अध्ययन गरिरहेका छन् । उनलाई एमबीबीएस पढाउँदा लाग्ने खर्च नगरपालिकाले बेहोर्नेछ भने त्यसबापत उनले उत्तीर्ण भएपछि ५ वर्ष पालिकाभित्र काम गर्नुपर्ने सम्झौता छ । ‘स्थानीय सरकारकै बजेटमा पढिरहेको छोराले पढाइ सकेपछि गाउँकै सेवा गर्नेछ,’ नेत्र भन्छन्, ‘योभन्दा खुसीको कुरा हाम्रा लागि के नै हुन सक्छ र !’
कर्णालीका अस्पताल र स्वास्थ्य संस्थाहरूमा डाक्टर आउनै नमान्ने समस्या हल गर्न स्थानीय सरकारले विद्यार्थीलाई छात्रवृत्तिमा डाक्टर पढाउन सुरु गरेका हुन् । केही पालिकाले पूर्ण शुल्क तिरेर डाक्टर पढाइरहेका छन् भने केहीले आंशिक शुल्क बेहोरिरहेका छन् । यस्तो अभ्यासले गाउँघरमै सिंहदरबारको प्रत्याभूति मात्रै गराइरहेको छैन, भविष्यका निम्ति स्थानीय तहको स्वास्थ्य सेवा बलियो बन्ने सम्भावना पनि सुरु भएको छ ।
जाजरकोटको कुशे गाउँपालिका–४ की जोत्सिला कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्दै छिन् । जोत्सिलाका परिवारले चाहेर मात्रै उनी एमबीबीएस पढ्न पाएकी होइनन् । गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि उनको पढ्ने ढोका खुलेको हो । उनको पढाइमा गाउँपालिकाले ५० प्रतिशत, कलेजले २५ प्रतिशत र बाँकी खर्च परिवारले बेहोरिरहेको छ । ३ वर्षअघिबाट एमबीबीएस पढिरहेकी उनका लागि पालिकाले अहिलेसम्म १७ लाख तिरिसकेको छ । २५ हजार पालिकावासीले गाउँका डाक्टरबाट सेवा पाऊन् भन्ने सोचेर यस्तो काम थालिएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
‘उनलाई पढाउन ४० लाख शुल्क तिर्ने सहमति भएको छ,’ बस्नेतले भने, ‘पढिसकेपछि पालिकाभित्र ४ वर्ष अनिवार्य सेवा गर्नुपर्ने सहमतिमा यो काम सुरु गरिएको हो ।’ विकट जिल्ला भएकाले डाक्टरहरू सकभर जिल्लामा आउनै नमान्ने र आइहाले पनि एकाध महिनामै सरुवा भएर जाने भएकाले आफूहरूले स्थानीयलाई डाक्टर बनाउने योजना सुरु गरेको उनले बताए । ‘अहिलेसम्म जिल्ला अस्पतालमै डाक्टर बस्न मान्दैनन्, पालिकामा बस्न डाक्टर आउने कुरै भएन,’ अध्यक्ष बस्नेतले भने, ‘अब आफ्नै पालिकामा आफ्नै गाउँका डाक्टरले बिरामीको उपचार गर्छन् । उनका अनुसार गाउँमा कोही बिरामी भयो र कसैको पोस्टमार्टम गर्नुपर्यो भने जिल्ला अस्पताल पुर्याउनुपर्ने बाध्यता छ ।
जाजरकोटकै बारेकोट गाउँपालिकाले २ जनालाई एमबीबीएस पढाएको छ । दीपक ज्योतिले भर्खरै पढाइसकेका छन् भने रूपक ज्योति भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तिम वर्षमा पढिरहेका छन् ।
‘पालिकाले पढाएका डाक्टरहरूले अब पालिकामै सेवा दिनेछन्,’ अध्यक्ष वीरबहादुर गिरीले भने, ‘जिल्ला बाहिरका डाक्टरहरू जाजरकोटमा आउन नचाहने भएकाले आफैं डाक्टर पढाइरहेका हौं ।’ आर्थिक अवस्थाका कारण कुनै पनि विद्यार्थीले कुनै तह पूरा गर्न नसकेमा सम्पूर्ण खर्च पालिकाले बेहोर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरिएको उनले बताए । जसका लागि झन्डै २० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा डाक्टर, इन्जिनियर र कानुन पढ्ने विद्यार्थीलाई प्राथमिकता दिइनेछ ।
पालिकाको खर्चमा एमबीबीएस उत्तीर्ण गरेका दीपकले स्थानीय तहले आफ्नो जीवनमा लगाएको गुन कहिल्यै बिर्सन नसकिने बताए । ‘अब मेडिकल काउन्सिलबाट लाइसेन्स लिएर गाउँमै बिरामीको उपचार गर्न जाने योजनामा छु,’ उनले भने, ‘मजस्ता पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सपना पूरा गर्न पालिकाले ठूलो राहत दिएको छ, बल्ल गाउँमा सिंहदरबार आएको अनुभूति भएको छ ।’ उनले गाउँमा रकम अभावकै कारण वर्षौंदेखि रोग लुकाएर बस्नेहरूको संख्या ठूलो रहेको र कैयौं स्थानीयले उपचार अभावमा स–साना रोगबाट ज्यान गुमाउनु परिरहेको बताए ।
जुम्लाको पातारासी गाउँपालिकाका नवीन रेउले पनि पालिकाको खर्चमा रूपन्देही मेडिकल कलेजमा एमबीबीएस पढिरहेका छन् । एमबीबीएसको पूरै पढाइ सक्दा लाग्ने ३५ लाख पालिकाले बेहोर्ने गरी उनीसँग सम्झौता भएको छ । जुम्लाकै तातोपानी गाउँपालिकाले पनि पालिकाका एक विद्यार्थीलाई डाक्टर पढाउने नीति तथा कार्यक्रम र बजेट यो वर्ष पारित गरेको छ । आगामी आर्थिक वर्षबाट बर्सेनि एक जनालाई डाक्टर पढाइने प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । ‘एक त पालिकाभित्र राम्रो पढाइ भएका विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकै कारण डाक्टर पढ्नबाट वञ्चित हुनुपरेन,’ उनले भने, ‘अर्को कुरा पालिकाकै डाक्टर भयो भने पालिकाभित्रका नागरिकले गुणस्तरीय र भरपर्दो सेवा पाउनेछन् ।’
लुम्बिनी प्रदेशका केही स्थानीय तहले पनि यस्तो अभ्यास गरिरहेका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नै खर्चमा चिकित्साशास्त्र पढाउन एक विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिसकेको छ । गाउँपालिकाको निर्माणाधीन अस्पतालमा चिकित्सक अभाव हुन नदिन यसो गरिएको गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले बताए । हरेक वर्ष कम्तीमा ५ लाख रुपैयाँ दिने गरी विद्यार्थी पढाउने र पढाइसकेपछि गाउँ फर्केर सेवा गर्नुपर्ने पालिकाको सर्त छ । पालिकाले यो वर्ष राङ्सी गाउँकी चन्द्रा घर्तीमगरलाई पढाउने गरी छनोट गरिसकेको छ । उनी विराटनगरस्थिन नोबल कलेजबाट एमबीबीएस पढ्ने तयारीमा छिन् । अध्यक्ष बुढामगरले भने, ‘गाउँमा चिकित्सक ल्याउन मुस्किल हुने र लामो समय नबस्ने समस्या देखिएकाले यस्तो काम थालिएको हो ।’ सानैदेखि एमबीबीएस पढ्ने चाहना भएकी चन्द्राले गाउँपालिकाले खर्च बेहोर्ने निर्णय गरेको सुन्दा निकै खुसी लागेको बताइन् । ‘मैले निकै दुःख गरेर पढेकी हुँ । गाउँपालिकाले पढ्ने खर्च दिने भएपछि खुसीको सीमा नै छैन,’ उनले भनिन् ।
रोल्पा नगरपालिकाले पनि कम्तीमा एक चिकित्सकलाई नगरकै खर्चमा पढाउने निर्णय गरेको छ । नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले नगरभित्र रहेको जिल्ला अस्पतालमा नियमित रूपमा चिकित्सक बस्ने बलियो आधार निर्माणका लागि यस्तो नीति ल्याउनुपरेको बताए । ‘जिल्ला अस्पतालमा नियमित चिकित्सक बस्न नसक्ने खबरले दुःखी तुल्याएको छ,’ उनले भने, ‘त्यसैले नगरले नै चिकित्सक पढाउन सकेमा उनीहरूबाट जनसेवामा निरन्तरता हुने विश्वासले यस्तो निर्णय गरेका हौं ।’ त्यसका लागि नगरले कम्तीमा ५० लाख बजेट छुट्याएको उनले बताए ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिकाले पनि एमबीबीएस अध्ययनरत २ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनही ६० हजारका दरले स्थानीय शिवानी सिंह र दिनेश ओडलाई एमबीबीएस अध्ययन छात्रवृत्ति
दिएको गाउँपालिका अध्यक्ष गणेश खड्काले बताए ।
बझाङको दुर्गाथली गाउँपालिकाले ०७९/८० देखि अध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत स्थानीय विद्यार्थीलाई एमबीबीएस छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले गाउँपालिकाकै सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने, दलित, जेहेनदार, सहिद परिवार तथा महिलालाई विशेष प्राथमिकता दिने गरी वार्षिक ५ लाखका दरले २० लाख दिने निर्णय भएको सुनाए ।
डडेलधुराका अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले पनि हरेक वर्ष एक जना जेहेनदार र गरिब विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेका छन् । भागेश्वर गाउँपालिका प्रमुख हेमराज चटौतले कुन प्रक्रियाबाट छात्रवृत्ति दिने, छनोट कसरी गर्ने भन्ने निर्णय भएपछि बजेट छुट्याइने बताए । अमरगढी नगर प्रमुख डिल्लीराज जोशीले हरेक वर्ष एक जनालाई छात्रवृत्ति दिने निर्णय भएको तर अझै बजेट विनियोजन नभइसकेको बताए । यी तीनै स्थानीय तहको निर्णय कार्यान्वयनमा गएको चार वर्षमा १२ जनाले चिकित्सा शिक्षा अध्ययनको मौका पाउनेछन् ।
कुन पालिकाले कतिलाई पढाउँदै छन् ?
-डोटी
आदर्श गाउापालिका– २
-जुम्ला
पातारासी गाउापालिका– १
-रोल्पा
परिवर्तन गाउापालिका– १
रोल्पा नगरपालिका– १
-बझाङ
दुर्गाथली गाउापालिका– १
-जाजरकोट
बारेकोट गाउापालिका– २
कुशे गाउापालिका– १
-डडेलधुरा
अमरगढी नगरपालिका– १
भागेश्वर गाउापालिका– १
अजयमेरु गाउापालिका– १
-सुर्खेत
लेकबेंसी नगरपालिका– १
तृप्ति शाही (वीरेन्द्रनगर), काशीराम डाँगी (रोल्पा) र चित्रांग थापा (धनगढी)

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)











