You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

मुख्य ठेकेदारतर्फ सोझियो सुन अनुसन्धान

- मातृका दाहाल,ऋषिराम पौड्याल

(काठमाडौं)
हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् । बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत भित्र्याएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकिया शंकाको घेरामा परेका हुन् ।
विगतमा गोरखा विकास बैंक घोटाला प्रकरणमा मुछिएका र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्‍याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन् । उनी केही बैंक/वित्तीय संस्थामा यसअघि सञ्चालक समिति सदस्य रहिसकेका व्यक्ति हुन् ।
विभागको टोलीले बुधबार नै चिनियाँ र भारतीय गिरोह बस्दै आएका ठमेल र लाजिम्पाटस्थित घरमा छापा मारेको छ । ठमेलको एक घरबाट ब्रेक सु उल्लेख गरिएका ६६ कार्टुन बरामद भएको छ । रेडी ट्रेडले नै सुन भित्र्याउने क्रममा ती सामान ल्याएको आशंका गरिएको छ । क्विन्टल सुन भित्रिनुअघि बालुवाटार र लाजिम्पाटमा कोठा भाडामा लिएर बसेका दुई विदेशी एक साताअघि नै पक्राउ परेका छन् । भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

दुवै चीन–हङकङ र भारतमा रहेका मुख्य गिरोहका सहयोगी रहेको आशंका छ । त्यसमा नेपालमा व्यवस्थापकको भूमिका अडुकियाले गरेको आशंका छ । विभागका महानिर्देशक नवराज ढुंगानाले तथ्य, प्रमाण तथा बयानबाट खुलेअनुसार अनुसन्धान अघि बढेको बताए । अनुसन्धानकै क्रममा बुधबार विभिन्न स्थानमा छापा मारेर सामान बरामद गरिएको उनले जानकारी दिए । विभागले अनुसन्धानका लागि तीन जना निर्देशकसहितको टोली खडा गरेको छ । ‘पक्राउ परेकाहरूसँग बयान लिने क्रम पनि जारी छ,’ महानिर्देशक ढुंगानाले भने । विभागका एक निर्देशकले क्विन्टल सुन प्रकरण जटिल र संगठित किसिमको अपराध भएकाले हतारमा नतिजा नआउने बताए । ‘तथ्य र प्रमाणका आधार खोज्दा समय लाग्छ,’ उनले भने ।
ब्रेक सुकै आवरणमा असार २९ मा भित्रिएर विमानस्थल भन्सार जाँचपास भएको १ क्विन्टल सुन विभागले अघिल्लो मंगलबार सिनामंगल सडकबाट बरामद गरेको थियो । त्यस क्रममा एक जना भन्सार एजेन्ट र अर्का एक ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानमा हालसम्म विमानस्थल भन्सारका अधिकृत, दुई खरिदार, चार जना भन्सारसहित १७ जना पक्राउ परिसकेका छन् । बुधबार मात्रै सुन तस्करीसँग जोडिएका नरेश भनिने नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई ललितपुर प्रहरीका छुट्टाछुट्टै हिरासत कक्षमा राखेर अनुसन्धान गरिँदै छ ।
व्यापारी अडुकिया गत महिना मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत–दुबई हुँदै हङकङ पुगेका थिए । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार गत जुन २६ मा त्रिभुवन विमानस्थलबाट अडुकिया भारत गएको देखिन्छ । त्यतैबाट दुबई पुगेका उनी हङकङबाट पुनः दुबई हुँदै जुलाई ५ मा त्रिभुवन विमानस्थल आएका थिए । हङकङ र दुबईबाट भित्रिएको तस्करीको सुन यसअघि पनि प्रहरी र भन्सारले पटक–पटक बरामद गर्दै आएको छ । यी मुलुक हुँदै विदेशी मुद्राको पनि तस्करी हुने गरेका तथ्यहरू प्रशस्तै छन् ।
आठ कार्टुनमा ब्रेक सुको आवरणमा भित्रिएको क्विन्टल सुन असार २९ मा बरामद हुनुअघि पनि दुई महिनाभित्र रेडी ट्रेडकै नाममा हङकङबाट १ हजार ९ सय ९७ केजी सामान (ब्रेक सु, सेभर र मेकानिकल मोटर) भित्रिएको थियो, जसमा २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु थिए । सेभर चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले, मेकानिकल मोटर ताइवानको तालमड कम्पनीले र चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले ब्रेक सु पठाएको थियो । रेडी ट्रेडलाई सामान पठाउने कम्पनी पनि फर्जी रहेको आशंका छ ।
यसरी भित्रिएको केही सामान चिनियाँ र भारतीय गिरोह बस्दै आएको घरबाट बरामद हुनु र रेडी ट्रेड अवैध धन्दा चलाउनकै लागि खोलिएको देखिनुले सुन तस्करी संगठित र योजनाबद्ध रूपमा भइरहेको सम्बद्ध अधिकारीको भनाइ छ । रेडी ट्रेड दोलखाका सामान्य आयआर्जन भएका व्यक्तिका नाममा दर्ता छ । गिरोहले सेटिङमै उनीहरूका नाममा कम्पनी खडा गरेको हुन सक्ने ती अधिकारीले बताए । तस्करीमा विमानस्थल भन्सारकै अधिकृत र जाँचकी तथा एक्सरेमा बस्ने प्राविधिकको भूमिका झनै शंकास्पद देखिएको छ । ब्रेक सुको कार्टुन एक्सरेमा राख्दा कैफियत देखिए पनि कर्मचारीले गिरोहको योजनाअनुसार नै छाडिदिएका थिए । त्यही प्रकरणमा अधिकृतसहितका तीन कर्मचारी पक्राउ परिसकेका छन् ।

मुख्य पृष्ठ

सुन प्रकरणले तात्यो संसद्

- मकर श्रेष्ठ

(काठमाडौं)
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध गरेको छ भने सत्तापक्षकै सांसदले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतको राजीनामा मागेका छन् ।
प्रतिपक्षी दल रास्वपाले संसद्मा सुन काण्डको बारेमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । उसले सरकारसँग जवाफसमेत माग गरेको छ । राप्रपाले पनि छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।
बैठक सुरु हुनेबित्तिकै एमालेले सरकारकै संरक्षणमा सुन तस्करी भएको भन्दै बैठक अवरोध गरेको थियो । संसद् बैठकअघि एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकले सुन तस्करीका विषयमा सरकारको गम्भीर आलोचना गर्ने निर्णय गरेको थियो । बुधबार १ बजेलाई निर्धारण गरिएको संसद् बैठक एमालेकै कारण ३ बजे सुरु
भएको थियो ।

‘सुन तस्करी गर्ने को हुन् ? दुई–तीन महिनामा २२ क्विन्टल सुन गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा भित्रिएको छ, यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘पछिल्लो पटक त सेटिङ बिग्रिँदा भेटिएको हो । यसअघि ३३ पटक आएको छ । उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ । मन्त्रीदेखि तलसम्म को–को संलग्न छन्, छानबिन हुनुपर्छ । छानबिन समितिका लागि रुलिङ होस् । अन्यथा हामी बैठक अघि बढ्न दिने छैनौं ।’
विमानस्थलको सुरक्षा कमजोर बनाएर सुन तस्करी भएको एमालेको आरोप छ । साउन ३ मा एक क्विन्टल सुन विमानस्थलबाट भित्रिएको थियो । त्यत्रो सुन कर्मचारीको सेटिङमा मात्रै तस्करी हुन नसक्ने एमालेको ठहर छ । ‘गृहमन्त्री कुनै पनि दृष्टिकोणले कुर्सीमा बस्न योग्य हुनुहुन्न, आफ्नै मातहतमा सुन तस्करी हुँदा पनि म कारबाही गर्छु भनेर स्टन्टबाजी गरिरहनुभएको छ,’ गिरीले भने, ‘अब तपाईं कुन नैतिक धरातलमा रहेर त्यो पदमा बस्न सुहाउँछ ?’
एमाले सांसद उठ्दा कांग्रेसका सांसदहरूले पनि हात उठाएका थिए । गिरीले बोल्नेबित्तिकै सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनील शर्मालाई समय दिए । शर्मालाई समय दिएकामा प्रतिपक्षी दलहरूले विरोध जनाए । सभामुखले शर्मालाई समय दिइसकेको भन्दै प्रतिपक्षका सांसदलाई बस्न आग्रह गरे । सत्तापक्षका सांसदले पनि बोल्न पाउनुपर्ने भन्दै उभिएर विरोध जनाए । शर्मा बोलिरहँदा एमालेका केही सांसद उभिए, केही बसिरहे । बस्ने कि उभिने भन्ने अलमलमा परेका एमाले सांसदहरूले शर्माले सुन तस्करीको छानबिन अवधिभर अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेपछि भने उभिएरै टेबल ठोकेर समर्थन जनाए । कांग्रेस सांसद बद्री पाण्डेले बसेर समर्थन गर्न आग्रह गरे । कांग्रेसकै अर्का सांसद रामहरि खतिवडाले पनि हात हल्लाउँदै एमाले सांसदलाई बस्न आग्रह गरिरहे । कांग्रेसका शर्माले अर्थमन्त्री र गृहमन्त्रीको चर्को आलोचना गर्न थालेपछि भने एमाले सांसद सिटमा बसे । सत्तापक्षका सांसदले सरकारको विरोध गरिरहँदा प्रतिपक्षी दलले टेबल ठोकेर समर्थन जनाइरहे । शर्माले अर्थमन्त्रीको विरोध गर्दै भने, ‘चैत १७ मा अर्थमन्त्रीले शपथ लिएपछि वैशाख २० मा अर्थ सचिव र जेठ १७ मा भन्सार प्रमुख परिवर्तन गरियो । अहिले त क्विन्टलका क्विन्टल सुन छिरेको देख्यौं । अर्थमन्त्री र गृहमन्त्रीले त्यो कसरी भयो थाहा छैन भन्ने नैतिक अधिकार गुमाइसक्नुभयो ।’
उनले अर्थमन्त्री र गृहमन्त्रीले सुन काण्डका मुख्य मालिक पक्राउ गर्ने निश्चित अवधि तोक्नुपर्ने र पक्राउ गर्न नसके राजीनामा दिनुपर्ने बताए । ‘समय लिएर मुख्य नाइके पक्राउ गर्न सक्नुपर्‍यो, होइन भने सभामुख महोदय, अनुसन्धानको प्रक्रिया सहज बनाउनका लागि मुख्य मालिक पक्राउ नपरेसम्म उहाँहरूले राजीनामा गरेर प्रजातान्त्रिक अभ्यासलाई कदर गर्नुपर्‍यो,’ उनले भने, ‘यो विषयलाई सामान्य रूपमा हेरियो भने दोषको भागिदार हामी पनि हुन्छौं ।’
भरियालाई जेलभित्र हालेर मुख्य नाइकेहरू भगाउन खोजिएमा आमरण अनशन बस्ने चेतावनी उनले दिए । उनले भने, ‘अर्थमन्त्री र गृहमन्त्री त्यही बिचरा भुजेललाई समातेर मुख्य नाइके नसमात्ने सोचमा हुनुहुन्छ भने प्रधानमन्त्रीको आगमनपछि यो सदनभित्र आमरण अनशन बस्ने घोषणा गर्न चाहन्छु ।’ यसअघि कानुन समितिको बैठकमा पनि उनले अर्थमन्त्रीको राजीनामा मागेका थिए ।
कांग्रेसकै रामहरि खतिवडाले सुनकाण्डको छानबिन निष्पक्ष हुनुपर्ने बताए । ‘यति धेरै सुन आयात हुँदा पनि भन्सार, प्रहरी–प्रशासनले देखेन,’ उनले भने, ‘नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाउन खोजिएको छ । सरकारले बेलैमा ध्यान पुर्‍याउन सकेन भने नेपाल तस्करको स्वर्ग हुन सक्छ ।’ भरियालाई पक्राउ गरेर मुख्य नाइकेलाई जोगाउन नहुने र यसबारेमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने उनले बताए ।
रास्वपा सभापति रवि लामिछानेले भरियामात्रै पक्राउ पर्नु नौलो विषय नभएको बताए । ‘जुन सेटिङ नेपाली जनताले थाहा पाइसकेका छन्, यस्ता घटना भएपछि कर्मचारीको सरुवा हुन्छ, सरुवा कारबाही हो कि पुरस्कार ? क्विन्टलका क्विन्टल सुन आउँदा कारबाही गर्नुपर्ने हो कि केही कर्मचारीलाई सरुवा गर्ने हो ?’ उनले भने, ‘यस्तो गम्भीर विषयलाई हल्का रूपमा लिएर सरुवा गर्ने ? मालिकलाई किन समातिएन ? यो एउटा ठूलो सेटिङ हो । जुन निरन्तर चल्दै आएको छ । विभागीय प्रमुखले त्यो निकायको प्रमुख हुने हैसियत राख्दैन ।’ रास्वपाले बुधबार संसद्मा दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावलाई चाँडै सदनमा प्रस्तुत गर्न उनले माग गरे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुन काण्डको अनुसन्धान गर्न सरकार गहिराइमा पुग्न नसकेको आरोप लगाए । ‘सुन आउँदै छ भन्ने सूचना दिने स्रोतलाई को–को संलग्न छन् भन्ने थाहा छैन होला ? कसैलाई देखाउनका लागि मात्रै एक ट्रिप पक्राउ गरेको हो ?’ उनले भने, ‘सुनको ट्रान्जिट प्वाइन्ट बनिरहेको छ । भरियालाई पक्राउ गरेर तस्करीको नाइकेलाई जोगाउने अनि हामीले यति गर्‍यौं नि भन्ने । अनुसन्धान जरामा पुगोस् ।’ सुन काण्डको छानबिन गर्न विशेष आयोग बनाउनुपर्ने माग उनले राखे ।
एमाले सांसद ठाकुर गैरेले पशुपतिमा चढाएको जलहरी सुनको भएको पत्ता लगाएजस्तै विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन तस्करी गर्नेलाई पनि पक्राउ गर्न चुनौती दिए । ‘छानबिन नभएसम्म संसद् र देशको गरिमा बचाउन सकिँदैन, जुन दिन सुन आयो त्यो दिन भन्सार प्रमुख र अध्यागमन प्रमुख किन बिदा लिएर बसे ? दुवै जनाको एकै दिन बिदा कसले स्वीकृत गर्‍यो ?’ गैरेले भने, ‘नैतिक रूपमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’
उनले बोलेपछि सभामुखले शून्य समय सुरु गरे । त्यसपछि उच्चस्तरीय छानबिन समिति माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरे । सभामुखले छानबिन समितिको रुलिङ नगरी बैठक अघि बढाएपछि एमाले सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । उनीहरूले छानबिन समिति गठन गर, तस्करलाई कारबाही गर, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजीसमेत गरे । एमाले सांसदले नाराबाजी गरिरहँदा गृहमन्त्री श्रेष्ठ भने एमाले सांसद र सभामुख घिमिरेलाई हरेर हाँसिरहे । विरोध जारी राखेपछि सभामुख घिमिरेले सोमबार १ बजेसम्मलाई बैठक स्थगित गरेका छन् ।
बैठकमा सत्तारूढ दल माओवादीका सांसद देवेन्द्र पौडेलले भने सरकारको बचाउ गरे । सरकारले गरेको राम्रा कामबाट आत्तिएर प्रतिपक्षले दिउँसै रात पार्न खोजेको आरोप उनले लगाए । ‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयको छानबिन गर्ने प्रक्रियामा सरकार अगाडि बढिरहेको छ, माननीयहरूलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘कसैको अनुहार हेर्न जरुरी छैन, सरकार अगाडि बढोस् ।’

मुख्य पृष्ठ

देउवाले दिएनन् सदस्यले उठाएका प्रश्नको जवाफ

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
कांग्रेसले आफ्नो समर्थनमा बनेको सरकारले थालेका भ्रष्टाचारविरोधी कदमलाई साथ र समर्थन गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाए पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने विषयमा भने मौन बसेको छ ।
साउन २ देखि आठ दिन चलेको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले भनेको छ, ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किऊन् र कोही निर्दोष नफसून् भन्ने हाम्रो पार्टीको नीति छ ।’ पार्टीको निर्णयप्रति महामन्त्री गगनकुमार थापाले लिखित रूपमै फरक मत दर्ज गराएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने अपराधमा संलग्न भएको अभियोगमा मुद्दा दायर भइसकेपछि अदालतबाट न्यायिक निरूपण नहुँदासम्म खाणलाई निलम्बन गर्नुपर्नर् ेउनको मत छ । थापाले तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा अदालतमा मुद्दा चल्दा सांसद निलम्बन हुने तर पार्टीमा किन नहुने भन्ने प्रश्न गरेका थिए ।
‘भ्रष्टाचार, अख्तियार दुरूपयोग, आर्थिक अनियमिता, गैरकानुनी आम्दानी, नैतिक पतन देखिने फैजदारी अभियोग, सामाजिक अपराधजस्ता विषयमा जुनसुकै तहको नेता, कार्यकर्ता वा सदस्य अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्तिले अनुसन्धान प्रक्रियालाई सहयोग गर्न मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्छ,’ थापाले आफ्नो फरक मतमा उल्लेख गरेका छन् ।
उनले गम्भीर आरोपमा पक्राउ परिसकेपछि व्यक्तिको निजी विषय हो र पार्टीको विषय बन्न हुँदैन भन्ने धारणा बनाउनु गलत भएको बताएका छन् । ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुन सक्छ तर थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन,’ उनले भनेका छन्, ‘उक्त व्यक्तिले पार्टीबाट आफूलाई अलग नराखे वा राजीनामा नदिए मुद्दाको न्यायिक निरूपण नहुँदासम्म सार्वजनिक पद वा पार्टीको संलग्नता वा जिम्मेवारीबाट अलग राख्नुपर्छ ।’ खाणलाई निलम्बन गर्ने विषयमा सभापति शेरबहादुर देउवा तयार नभएपछि बैठकले सैद्धान्तिक आवरणमा ‘फेस सेभिङ’ गर्ने काम मात्रै गरेको एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसले भ्रष्टाचार र सुशासनको क्षेत्रमा १३ बुँदाको सैद्धान्तिक प्रतिबद्धता अघि सारेको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद भएको घटनालाई गम्भीर रूपमा लिँदै कांग्रेसले छानबिन गरी दोषीउपर कारबाही माग गरेको छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष एमालेले उच्चस्तरीय छानबिनको माग गरिरहेका बेला कांग्रेसले अनुसन्धान निकायबाट मात्रै निष्पक्ष छानबिनको माग गरेको छ ।
बैठकमा सदस्य र पदाधिकारीले भ्रष्टाचार र राष्ट्रिय राजनीतिका विषयमा दर्जनौं प्रश्न सभापति र महामन्त्रीहरूमाथि उठाएका थिए । बैठकमा पार्टी विधि–विधानअनुसार नचलाएको, संगठनभन्दा सत्ता राजनीतिलाई केन्द्रमा राख्दा पार्टीको वैचारिक धार कमजोर भएको, भ्रष्टाचारका काण्डमा मौन बसेको लगायतका प्रश्न सभापति शेरबहादुर देउवातर्फ लक्षित थिए ।

देउवापछि सबैभन्दा बढी प्रश्न महामन्त्री गगन थापाप्रति थिए । संस्थापन पक्षीय सदस्यहरू सामाजिक सञ्जालबाट नेतृत्वलाई ‘खुइल्याउने’ काम गरेको भन्दै महामन्त्रीविरुद्ध एक स्वरमा उत्रिएका थिए ।
सदस्यहरूले उठाएका तमाम प्रश्नमा सभापति देउवाले कुनै जवाफ दिएनन् । करिब तीन मिनेट बोलेका उनले बैठक लाइभ गरिएको विषय र सदस्यहरूलाई धन्यवाद दिएर बैठक अन्त्य भएको घोषणा गरेका थिए । महामन्त्री थापाले भने आफूमाथि उठेका दर्जनौं प्रश्नको आइतबार ४० मिनेट लगाएर जवाफ दिएका थिए । देउवाको तीन मिनेटको मन्तव्यको महत्त्वपूर्ण अंश अर्को बैठक असोज २ मा बोलाउने घोषणा थियो । दुई–दुई महिनामा बोलाउनुपर्ने बैठक एक वर्षमा बोलाइएकामा अधिकांश केन्द्रीय सदस्यले विरोध गरेको र महामन्त्री थापाको प्रस्तावमा बैठक बोलाउने क्यालेन्डरसमेत समावेश भएकाले देउवाले अर्को बैठकको मिति घोषणा गरेका हुन् ।
देउवाले देश र दुनियाँलाई कांग्रेसबारे बुझ्न भनेर बैठक लाइभ गरिएको बताए । ‘बैठकमा जीवन्त किसिमको छलफल भयो, कांग्रेसका सदस्यहरू कोहीभन्दा कम छैनन् भन्ने कुरा देश र दुनियाँले बुझ्नुपर्छ भनेरै बैठक लाइभ गरिएको हो,’ उनले भने ।
भ्रष्टाचार काण्डमा कांग्रेस नेतृत्व मौन बस्ने गरेको आलोचना जनस्तरबाट सबैभन्दा बढी उठेको छ । राजनीतिक अवस्था तरल छ । एक वर्षको अवधिमा राजनीतिक क्षेत्रमा थुप्रै घटनाक्रम भएका छन् तर देउवाले एक वर्षपछि बैठक राख्दा आफूमाथि जनस्तर र केन्द्रीय समितिमा उठेका प्रश्नको जवाफ दिने दायित्व छलेर कांग्रेसलाई रक्षात्मक बनाएको नेताहरू बताउँछन् । ‘कम्युनिस्ट पार्टीहरूमा नेतृत्वले समसामयिक राजनीति र पार्टीको सांगठनिक मुद्दाका विषयमा लामो राजनीतिक दस्ताबेज छलफलमा प्रस्तुत गर्छन् तर हाम्रो सभापतिले अहिलेसम्म त्यस्तो दस्ताबेज प्रस्तुत गर्नुभएको छैन, आफ्नै सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने दायित्वसमेत निर्वाह नगरेपछि केन्द्रीय कार्यसमिति बैठक सदस्यहरूको तीतो पोख्ने थलोमा सीमित बन्न पुगेको सन्देश गएको छ,’ पार्टीका एक पदाधिकारीले भने, ‘भ्रष्टाचारलाई लिएर ठूला राजनीतिक दलप्रति आमवितृष्णा जागेका बेला कांग्रेसले आशा जगाउन सक्नुपर्थ्यो । त्यो नेतृत्वको अनिच्छाले हुन सकेन ।’
बैठकमा आफ्नो आलोचना सोचेभन्दा कम भएको भन्दै देउवाले खुसी प्रकट गरे । सामाजिक सञ्जालको प्रयोग गरेर नेतृत्वमाथि जथाभावी विरोध गर्ने काम बन्द गर्न बैठकले प्रस्ताव नै पारित गर्नुपर्ने भन्दै संस्थापन पक्षीय सदस्यहरूले उठाएको मागमा देउवाको विशेष सरोकार देखिएको थियो । अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले पदाधिकारीबीचको छलफलमा प्रस्ताव राख्ने समझदारी भए पनि महामन्त्रीको प्रस्तुतिमा नआएको भन्दै असन्तुष्टि पोखेका थिए । सामाजिक सञ्जाल र पार्टीको वेबपेजमा नेतृत्वको विरोध गर्न नपाइने प्रस्ताव पारित गर्दा महामन्त्रीहरूलाई पनि लगाम लगाउन सकिने ठानेरै संस्थापन पक्षीय सदस्यहरूले रणनीतिक रूपमा यस्तो निर्णय गराएको कांग्रेस संस्थापन इतरपक्षीय सदस्यहरूको बुझाइ छ ।
थापाले संसदीय दलको नेता परिवर्तन गर्ने र भ्रष्टाचारमा संलग्न भएका पार्टी नेतालाई निलम्बन गर्ने मुद्दालाई सार्वजनिक तहमै पुर्‍याएका थिए । त्यसैलाई लिएर बैठकमा संस्थापन पक्षीय सदस्यहरू एकै स्वरमा महामन्त्रीमाथि खनिएका थिए । आफूमाथिका प्रश्नमा जवाफ दिँदा थापाले संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक रहेको र त्यसका लागि आफ्नो प्रयत्न जारी रहने बताएका थिए भने भुटानी शरणार्थी प्रकरणमा आफ्नो प्रस्ताव पारित हुने नदेखेपछि फरक मत राखेका थिए । बैठकमा सबैभन्दा बढी छलफलमा आएको विषय निर्वाचन प्रणाली बदल्नुपर्ने र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने थियो । यी दुई विषयका बारेमा पार्टीको निर्णय र नेतृत्वको जवाफसमेत आएन ।

महासमिति बैठक मंसिरमा
कांग्रेसले मंसिर ११ देखि १३ सम्म काठमाडौंमा पार्टीको महासमिति बैठक बोलाएको छ । डेढ वर्षअघि १४ औं महाधिवेशनमा ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन बोलाउने गरी पदाधिकारी र सदस्यको निर्वाचनमात्रै गरिएको थियो । नीति महाधिवेशन बोलाउँदा ठूलो संख्या हुने भएकाले महासमिति बैठक बोलाउने तय भएको सभापति देउवाले बताए । पार्टी विधानमा पनि नीति महाधिवेशनबारे कुनै व्यवस्था छैन तर महासमिति बैठक महाधिवेशन भएको वर्षबाहेक वर्षको एक पटक बस्नुपर्ने व्यवस्था छ ।
स्थानीय र प्रदेश निर्वाचनमा बागी उम्मेदवार बनेर पार्टीमा फर्कन चाहेकालाई कांग्रेसले अनुशासनको कारबाही फुकुवा गरेको छ । म्याद सकिएको दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने, मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्नेलगायतका निर्णय गरेको छ ।

 

मुख्य पृष्ठ

मानिससँग रत्तिँदै चौका

- रूपा गहतराज

(नेपालगन्ज)
गत फागुनमा बाँकेको राप्ती सोनारी–२, मदुईको अशोक सामुदायिक वनबाट बस्तीमा बाख्राको पाठोजस्तै सानो जनावर देखा पर्‍यो । स्थानीयले सहजै नियन्त्रणमा लिए र प्रहरीलाई जानकारी गराए । जन्मिएलगत्तै माउ गुमाएको अवस्थामा भेटिएको यो जनावर फेला पर्दा नाभी पनि झरेको थिएन । प्रहरीले संरक्षणका लागि वन कार्यालयलाई बुझायो । शमशेरगन्ज सब डिभिजन वन कार्यालयमा राखिएको यो जनावर हुर्कँदै जाँदा मानिससँगै रमाउन थालेको छ ।
अंग्रेजीमा ‘फोर हर्न एन्टिलोप’ भनिने संरक्षित वन्यजन्तुको सूचीमा रहेको यो दुर्लभ स्तनधारी जनावरलाई चौका भनिन्छ ।

हुर्किंदै जाँदा भाले चौका यस्तो भयो कि, मानिसको संगतबाट पर रहनै सकेन । जंगली जनावर भए पनि मानिस देखेपछि भाग्दैन बरु लुटुपुटु गर्छ ।
यही चौकाकै कारण पाँच महिनायता कार्यालयकी नर्सरी नाइके पोटनी थारूको दिनचर्या बदलिएको छ । चौकालाई नवजात शिशुलाई जस्तै दूधदानीबाट दूध खुवाउनुपर्छ । पोटनी हरेक बिहान नजिकैको शमशेरगन्ज गाउँमा १ लिटर दूध लिन जान्छिन् । सुरुवातका तीन महिना त उनले दिनमा तीन पटक दूधदानीबाट दूध चुसाउँथिन् । हुर्किंदै गएपछि हिजोआज भने दुई पटक दूध खुवाउनुपर्छ । ‘आफ्नै सन्तानजसरी हुर्काएको छु । काखैमा बस्छ, मलाई पनि धेरै माया लाग्छ,’ उनले भनिन्, ‘सबै रेखदेख म नै गरिरहेकी छु ।’ पोटनीका अनुसार चौकाले गाईको दूधका अलावा हिजोआज बिरुवाको कलिलो मुन्टा र पात पनि खान थालेको छ ।
डिभिजन वन कार्यालय प्रमुख सुशील सुवेदीले कर्मचारी मात्रै नभएर कार्यालयमा आउने आगन्तुक पनि चौका देखेर खुसी हुने गरेको सुनाए । ‘मान्छेको संगतमा हुर्किएकाले होला, ठूलो भइसक्दा पनि यो प्राकृतिक बासस्थानमा जान मानिरहेको छैन,’ उनले भने । वन कार्यालयका कर्मचारीका अनुसार चौकालाई कुकुरबाट जोगाउनु चुनौती देखिएको छ । कार्यालय प्रमुख सुवेदीले भने, ‘अहिले नै जंगलमा छाड्दा खतरा हुन्छ कि भन्ने चिन्ता छ । गाउँ पस्यो भने अरू जनावरको आक्रमणमा पर्ला कि भन्ने डर छ ।’ कार्यालयले यसलाई संरक्षणका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पठाउनेबारे पनि सोचेको थियो तर अनुकूल वातावरण नमिल्ला कि भनेर तत्काल निर्णय लिन सकेन । ‘सिङ उम्रिएपछि र प्रतिरक्षा गर्न सक्ने अवस्था भएपछि प्राकृतिक बासस्थानमै पठाउनेबारे सोचिरहेका छौं,’ प्रमुख सुवेदीले भने । सानै भएकाले सिङ उम्रिन बाँकी छ । वन्यजन्तु विज्ञका अनुसार १० देखि १४ महिनाको उमेरमा चौकाको चार वटा सिङ उम्रिन थाल्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चौका पर्सा, चितवन, बाँके, बर्दियाका राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रका साथै भारतका जंगलमा मात्रै पाइन्छ । सालको वन भएका क्षेत्रमा बढी पाइने चौकाले ६ महिनादेखि एक वर्षसम्म माउको दूध खान्छन् भने हुर्किएपछि घाँसको कलिलो मुना असाध्यै रुचाउँछन् । समूहमा नहिँड्ने स्वभाव र संख्या कम भएकाले वनजंगलमा चौका सजिलै देखिँदैनन् ।
बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले लामो समय मानिससँग घुलमिल भएपछि चौका जंगलमा बस्न नसक्ने हुने बताए । ‘वन्यजन्तुका लागि सुरक्षित स्थान जंगल नै भएकाले हुर्किनासाथ प्राकृतिक बासस्थानमै छाड्नु उपयुक्त हुन्छ,’ उनले भने ।

Page 2
म्यागेजिन

मिनी चिडियाखाना वन्यजन्तुलाई धराप

- गोविन्द पोखरेल

(मोरङ)
हेर्दा, कुखुरालाई बस्नका लागि बाँसमा जाली बुनेर बनाइएको सानो खोरजस्तै देखिन्छ । खोरभित्र ठूलो सिकारी चरा चिलको एक प्रजाति थुनिएको छ ।
पूर्वी नेपालको मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको ‘मिनी चिडियाघर’मा राखिएको यो चिल दुई वर्षअघि वन समूहलाई संरक्षणका लागि हस्तान्तरण गरिएको थियो । डिभिजन वन कार्यालय मोरङले हस्तान्तरण गरेका ६ वटा चिलमध्ये जीवित यो मात्रै हो ।
यस्ता चिडियाघरहरूको संख्या हाल नेपालमा बढ्दै गइरहे पनि सञ्चालनसम्बन्धी नियमन नीति सीमित छन् र यहाँ राखिएका जनावरको अप्ठ्यारो स्थितिले संरक्षणकर्तालाई चिन्तित बनाएको छ ।
यस समस्याको केन्द्रमा सामुदायिक वन उपभोक्ता समूहहरू रहेका छन् । कानुनअनुसार गठन हुने सामुदायिक वन उपभोक्ता समूहको अवधारणा सन् १९८० को दशकमा सुरु गरिएको हो । वन संरक्षणलाई विकेन्द्रित गर्न नेपालमा सुरु गरिएको यो अभ्यास दक्षिण एसियाकै उदाहरणीय र नमुना अवधारणा हो । वन ऐन, २०४९ अनुसार प्रादेशिक सरकारको वन डिभिजन कार्यालयलाई सामुदायिक वनहरू स्थानीय बासिन्दाको व्यस्थापनमा हस्तान्तरण गर्ने अधिकार छ । प्रादेशिक तहले अनुमोदन गरेको दिगो वन
व्यवस्थापन योजनाअनुरूप आफ्नो क्षेत्रको प्राकृतिक स्रोतको व्यवस्थापन स्थानीय समुदाय आफैंले गर्ने गरी यो व्यवस्था गरिएको थियो ।
वनसम्बन्धी कानुनी प्रावधानलाई एकीकृत गर्दै वन ऐन, २०७६ आयो । जसमा दफा ३४ लाई संशोधन गर्दै पर्यापर्यटनलाई समेत समेट्ने गरी वन्यजन्तु पालन गर्न सक्ने व्यवस्था समेटियो । वन्यजन्तु संरक्षणको कानुनी आधार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ हो तर यो ऐनले राष्ट्रिय निकुञ्ज तथा आरक्षणलाई मात्र सम्बोधन गर्छ । ऐनले चिडियाघरलाई सोझै सम्बोधन गरेको छैन । सो ऐनमा चिडियाघर सञ्चालन गर्न पाउने भनिए पनि त्यसको अनुमति दिने निकाय, अनुगमनलगायत सञ्चालनबारे स्पष्ट उल्लेख गरिएको छैन ।
वन उपभोक्ता समूहहरूले चिडियाखाना सञ्चालन सम्बन्धमा के गर्न पाउने र नपाउने भन्नेसम्बन्धी नियमावलीको अन्तिम रूप आइसकेको छैन, त्यसैले उपभोक्ता समूहले चलाउने चिडियाघरहरूसम्बन्धी संयन्त्र प्रस्ट छैन । पर्यटकहरूको अवलोकनका लागि पैसा लिएर टिकट बेच्न पाउने व्यवस्था भएकाले यस्ता चिडियाघरहरूको संख्या नेपालमा बढ्दो छ ।

अनौपचारिक चिडियाघरहरू
राष्ट्रिय प्राणी उद्यानले सन् २०१९ मा गरेको एक अनुसन्धानअनुसार नेपालमा चिडियाघरको संख्या १७ थियो । त्यस्ता चिडियाघरमा जनावरको हेरचाह गर्ने पर्याप्त सुविधा नभएको र दक्ष जनशक्ति, पशु चिकित्सक र घाइते जनावरको सेवा सुरक्षा गर्ने तालिम पाएका परिचारिकाको अभाव रहेको सो अनुसन्धानमा देखाइएको थियो । अहिले चिडियाखानाको संख्या मोरङ जिल्लामा बेलबारीको बेतनासहित पथरीको मनकामना, शान्ति, हरियाली, सालबारी वन उपभोक्ता समूहले सञ्चालन गरेका छन् ।
मनकामना सामुदायिक वनमा यो प्रस्टै देखियो । डिभिजन वन कार्यालयले दुई वर्षअघि हेरचाह गर्नका लागि सामुदायिक वन समूहलाई हस्तान्तरण गरेका ६ वटामध्ये अहिले एउटा मात्रै चिल बाँचेको मनकामना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष उदयकुमार राईले बताए । बाँकी चिल एकापसमा लडेर र पर्याप्त हेरचाह नपुग्दा मरेको उनले बताए ।
यसका साथै दुईवटा चरीबाघ यहाँ एकापसबीच लडेर मरेका थिए । यस्तै, केही स्थानीयले वन समूहलाई बेचेका ६ वटा मयूर एक महिनाभित्रै मरेको पनि उनले बताए ।
सामुदायिक वनभित्रै रहेको सीमसार क्षेत्रबाट ल्याइएका दुईवटा अजिंगर पनि तीन महिनाभन्दा बढी नबाँचेको उनले बताए । अजिंगर नेपालको दक्षिणी क्षेत्रमा पर्ने समथर भूमि तराईका सीमसार तथा धाबी क्षेत्रमा बस्ने संरक्षित जीव हो । चिडियाघरमा ल्याइँदा यी जनावर घाइते वा बिरामी अवस्थामा वा समातेर ल्याइएको हो भन्नेबारे स्पष्ट छैन । राईले यी जनावरलाई उद्धार गरिएको दाबी गरे । राखिएका यस्ता वन्यजन्तुको नियमित अनुगमनको कुनै संयन्त्र छैन । कुनै सरकारी निकायले हस्तान्तरण गरेका वन्यजन्तु मरेका छन् भने तिनका प्रतिनिधि आएर मुचुल्का उठाएर गाड्ने बेलामा साक्षी बस्ने गर्छन् । यस्तै, सामुदायिक वनले अन्य गैरसरकारी संस्था वा व्यक्तिबाट ल्याएका वन्यजन्तु मरे भने तिनको मुचुल्का उठाउनका लागि वनका कर्मचारी विरलै आउने गर्छन् ।
हाल मनकामना सामुदायिक वनको चिडियाघरमा एउटा माउसहित पाँचवटा मृग र बाँदरको एउटा प्रजाति राखिएको छ । बाँदर राख्ने खोर पनि गन्हाउने फोहरको डंगुरले भरिएको छ । ‘हामीसँग लंगुर र वन बिराला पनि थिए तर यिनीहरूको हेरचाह गर्न हामीसँग पर्याप्त सीप र दक्षता नभएकाले तिनीहरू पनि मरे,’ राईले भने ।
यहाँको चिडियाघर घाइते वा बिरामी जनावरको हेरचाह गर्नका लागि स्थापना गरिएको भनिए पनि पर्यटकहरू आकर्षित गर्ने उद्देश्यले चिडियाघरको स्थापना गरिएको राईले बताए । पर्यटक तान्नैका लागि भनेर यो सामुदायिक वनले टिकटक बनाउनेलाई आकर्षित गर्न ‘ट्रि–हाउस’ को निर्माण गरेको छ ।
राई पूर्वमा शान्ति सामुदायिक वनमा रहेको यस्तै चिडियाघर देखेर यहाँ पनि चिडियाघर स्थापना गर्न प्रेरित भएका थिए । शान्ति सामुदायिक वनको अवस्था पनि राम्रो छैन । शान्ति सामुदायिक वन समूहका उपाध्यक्ष हेमभक्त गुरुङका अनुसार ०७२ मा ल्याइएका सबै वन्यजन्तु मरिसके । यो वनमा रहेको चिडियाघरमा पहिले अजिंगर, मृग, वन बिरालो, चितुवा, नील गाई, नीर बिरालो र गिद्धका विभिन्न प्रजाति थिए । व्यवस्थापनमा कमजोरी रहेकाले वन्यजन्तुको मृत्यु भएको गुरुङले बताए । यो सामुदायिक वनमा राखिएका केही मृग कमजोर खोर भएका कारण सिकारी कुकुर छिरेर मारिदिएको गुरुङले बताए । यस्तै, जंगलबाट ल्याइएका अजिंगरहरू केही मरेको र खोरको दुलोबाट निस्किएर भागेको गुरुङले जानकारी दिए ।

संरक्षण कि नाफा ?
यस प्रकारको सबैभन्दा ठूलो चिडियाघर झापाको जमुनाबारी सामुदायिक वनमा छ । यहाँ चितुवालगायत वन्यजन्तुका २९ वटा प्रजाति राखिएका छन् । यहाँको वन व्यवस्थापन योजनामा वन्यजन्तु उद्धार केन्द्रसमेत रहेको छ र यसलाई डिभिजन वन कार्यालयले अनुमति प्रदान गरेको छ । वन कार्यालयले यो सामुदायिक वनको वार्षिक कार्ययोजना स्वीकृत गरेको छ । त्यसैको आधारमा यहाँ वन्यजन्तु राखिएका हुन् ।
जमुनाबारी सामुदायिक वन उपभोक्ता समूहकी सञ्चालक समिति सदस्य तारा कोइरालाले यहाँ वन्यजन्तु राख्नुको प्रमुख उद्देश्य पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षण गर्ने उद्देश्य भएको बताइन् । कोइरालाका अनुसार यस चिडियाघरमा अहिले पनि पशुपन्छी राख्न १५ वटा खाली खोर रहेका छन् । ‘कसैले हामीलाई बाघ र गोही राख्न दियो भने पनि हामी राख्न सक्छौं,’ उनले भनिन्, ‘तर, हामीसँग यी वन्यजन्तुको हेरचाह गर्ने प्राविधिक जनशक्तिको कमी छ ।’ चिडियाघरका लागि दुईवटा अस्ट्रिच चरा किन्नका लागि १ लाख २० हजार रुपैयाँको बजेट चालु आर्थिक वर्षमा छुट्याइएको वन उपभोक्ता समूहका अध्यक्ष खेमराज सिटौलाले बताए । यो सामुदायिक वनको वार्षिक प्रतिवेदन हेर्दा जमुनाबारी चिडियाघरले सन् २०२१ को जुलाईदेखि सन् २०२२ को सेप्टेम्बरसम्म संकलन गरेको प्रवेश शुल्कबाट ५० लाखभन्दा बढी उठाएको थियो । वार्षिक प्रतिव्यक्ति आय नै १ लाख ८० हजारभन्दा कम रहेको देशमा यो रकम उल्लेख्य हो ।

वातावरणविद्को चिन्ता
प्राकृतिक अवस्थाबाट जबर्जस्ती रूपमा उठाएर ‘उद्धार’को नाम दिई कुखुरा राख्न बनाइएको जस्तो साँघुरो खोरमा वन्यजन्तु राख्नु दुर्भाग्य भएको साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसन नेपालका अध्यक्ष तथा मोरङको सकुना बहुमुखी क्याम्पसमा प्राणीशास्त्रका शिक्षक दिव्यराज दाहाल बताए । ‘उद्धारका नाममा वन्यजन्तुलाई प्राकृतिक बासस्थानबाट उठाएर सिधै खोरमा राख्ने गरिएको छ,’ उनले भने, ‘खोरहरू सुविधा सम्पन्न छैनन् र त्यहाँ जनावरलाई बचाउन चाहिने पर्याप्त सुविधा पनि छैन ।’ कतिसम्म भने त्यसरी राखिएका वन्यजन्तुले पानीसमेत खान नपाइरहेको उनले बताए ।
जनावरलाई थुनेर राख्दा पहाडी क्षेत्रमा बस्ने जनावरका लागि त्यस्तै प्रकारको बासस्थान र तराई वा समथर भूमिमा बस्ने जनावरका लागि त्यस्तै वातावरण प्रदान गर्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको चितवनस्थित जैविक विविधता संरक्षण केन्द्रकी प्रमुख रचना शाह बताउँछिन् । ‘जनावर बस्ने ठाउँ सकभर उनीहरूको प्राकृतिक बासस्थान जस्तै हुनुपर्छ,’ नेपालको एकमात्र सरकारी चिडियाखाना सदर चिडियाखानामा २० वर्षभन्दा बढी काम गरेकी उनले भनिन्, ‘जस्तो कि दुम्सी राख्ने हो भने त्यही प्रकारको वातावरण र उसले खोस्रिन सक्ने ठाउँमा राख्नुपर्छ ।’ पर्यटकलाई मात्रै ध्यान दिने हो भने दुरुपयोग हुने र यस्ता चिडियाखाना वन्यजन्तु मार्ने धराप बन्ने उनले बताइन् । वन्यजन्तुका लागि बनाइने खोर उसको आकारप्रकार, आनीबानी अनुसार क्षेत्रफलमा पनि ध्यान दिनुपर्ने र नियमित अनुगमन एवं हेरचाह अति नै आवश्यक रहेको उनले बताइन् ।

नियमनको प्रयास
संरक्षणका नाममा वन्यजन्तुको व्यापारिक शोषण भइरहेको विषयमा सरकारी अधिकारीहरू पनि अनभिज्ञ छैनन् । ‘सामुदायिक वनअन्तर्गत रहेका चिडियाघरहरूले संरक्षणभन्दा पनि आम्दानीलाई प्राथमिकतामा राख्नु समस्याको मूल जरो हो,’ वन तथा वातावरण मन्त्रालयको जैविक विविधता शाखाका पूर्वप्रमुख मेघनाथ काफ्लेले भने, ‘त्यस्ता चिडियाघर स्थापनाको कार्यविधि नभएकाले पनि समस्या आएको हो ।’
घाइते वा बिरामी जनावरको हेरचाहमा सामुदायिक वन उपभोक्ता समूहले निर्वाह गरेको भूमिकाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निवर्तमान महानिर्देशक महेश्वर ढकाल प्रशंसा गर्छन् । नियमनबिना सञ्चालित चिडियाघरका कारण भइरहेको सम्भाव्य हानिका बारेमा पनि उनी सचेत छन् । ‘हालसम्म विभागबाट यस्ता कुनै पनि चिडियाघरलाई अनुमति प्रदान गरिएको छैन,’ उनले भने, ‘समस्या समाधानका लागि आवश्यक जनशक्ति र सचेतना जरुरी छ ।’ सामुदायिक वनहरूको प्रयास राम्रो भए पनि त्यसको नतिजा नकारात्मक आएको उनले बताए ।
नियमनको कुरा सबैले गर्छन् तर कुन विभाग वा मन्त्रालयले गर्ने भन्ने विषयमा कोही पनि प्रस्ट नभएको वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बताए । ‘चिडियाघरसम्बन्धी एकीकृत नियमावली तथा कार्यविधि बनाइँदै छ र यो वर्ष पूरा हुनेछ,’ उनले भने, ‘तोकिएका मापदण्ड पूरा नगर्ने यस्ता अनौपचारिक चिडियाघरलाई कस्तो कारबाही गर्ने भन्ने विषयलाई कार्यविधिले सम्बोधन गर्नेछ ।’
(‘द थर्ड पोल’ मा प्रकाशित समाचारको अनुवाद)

 

Page 3
समाचार

पत्रिका वितरण अवरोध हटाउन वार्ता प्रक्रिया सुरु

 

काठमाडौं (कास)– कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका दुई प्रकाशन कान्तिपुर दैनिक र द काठमान्डु पोस्टको वितरणमा भएको अवरोध हटाउन आन्दोलनरत पक्ष र कान्तिपुर व्यवस्थापनबीच वार्ताको प्रक्रिया सुरु भएको छ । पब्लिकेशन्स्ले वार्ता आह्वान गरेपछि कान्तिपुर पब्लिकेशन्स् कर्मचारी मजदुर संघ तथा अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघमा आबद्ध मजदुरले बुधबार बिहान पत्रिका वितरण गरेका छन् । त्यस्तै ‘कान्तिपुर संघर्ष समिति’ ले वार्ता समिति गठन गरेको छ ।
कान्तिपुर पब्लिकेशन्स्ले मंगलबार आन्दोलनरत पक्षलाई वार्ता आह्वान गर्दै चिठी पठाएको थियो । पब्लिकेशन्स्ले पठाएको चिठीमा नागरिकको सुसूचित हुने हकलाई सुनिश्चित गर्नका लागि प्रकाशित पत्रिका पूर्ववत् वितरण गर्न, प्रत्यक्ष वा परोक्ष रूपमा वितरणमा बाधा नगर्न आग्रह गर्दै आधिकारिक समितिसँग वार्ताका निम्ति कम्पनी व्यवस्थापन सधैं तयार रहेको उल्लेख छ ।
कान्तिपुर पब्लिकेशन्स् कर्मचारी मजदुर संघका अध्यक्ष हरि बस्नेतले व्यवस्थापन पक्षले वार्ता आह्वान गरेपछि १७ सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार चार वटा संगठनबाट ४–४ जना र एक जना मिश्रबाबु अधिकारी समितिमा छन् । समितिहरू बने पनि वार्ता भने सुरु भएको छैन ।
कान्तिपुर पब्लिकेशन्स्का मानव संसाधन विभाग प्रमुख परमानन्द खनालले संघर्ष समितिले वार्ता समिति बनाए पनि पत्रिका वितरणमा अवरोध जारी रहेकाले वार्ता सुरु हुन नसकेको बताएका छन् । उनका अनुसार कान्तिपुर पब्लिकेशन्स्ले पत्रिका वितरण सुरु गरी सञ्चारको हक स्थापित गरी वार्ता अघि बढाउन आह्वान गरेको छ । ‘वार्ता र संवादबाटै श्रमिकका समस्या र माग सम्बोधन गर्न पब्लिकेशन्स् पूर्ण रूपमा प्रतिबद्ध छ, त्यही भएर वार्ता आह्वान पनि गरिसकिएको हो,’ खनालले भने, ‘तर नागरिकको सूचनाको हकलाई नै अवरुद्ध हुने गरी पत्रिका वितरणमा अवरोध गर्नु हुँदैन । त्यसैले हामीले पहिले पत्रिका वितरण गर्न आग्रह गरेका छौं ।’
खनालका अनुसार बुधबार वार्ता समिति गठन भएको जानकारी दिन पत्र लिएर संघर्ष समितिका तर्फबाट कान्तिपुर पब्लिकेशन्स् कर्मचारी युनियनका नानीबाबु अधिकारी, कान्तिपुर पब्लिकेशन्स् कर्मचारी मजदुर संघका गगन साउद, अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ कान्तिपुर पब्लिकेशन्स् मूल इकाई कमिटीका राजकुमार रिजाल र अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ मूल इकाई कमिटीका शिव काफ्ले आएका थिए । ‘हामीले पहिले पत्रिका वितरण सुरु गर्नुहोस्, त्यसपछि माग सम्बोधन गर्नका लागि वार्ता गरौं भन्दा उहाँहरूले माग पूरा भए मात्र पत्रिका वितरण सुरु गर्ने अडान लिनुभयो, त्यसैले वार्ता हुन सकेन,’ मानव संसाधन विभाग प्रमुख खनालले भने ।
उता, कर्मचारी मजदुर संघका अध्यक्ष बस्नेतले पनि वार्ता समिति गठन भएकाले संवादको प्रक्रिया त सुरु भए पनि व्यवस्थापनले आफूहरूको चिठी बुझ्न नमान्दा वार्ता हुन नसकेको बताए । ‘कान्तिपुर व्यवस्थापनले वार्ता आह्वान गरेर सकारात्मक सन्देश प्रवाह गरे पनि वार्ताको वातावरण निर्माण गर्न सकेको छैन,’ उनले भने ।
अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ कान्तिपुर पब्लिकेशन्स् मूल इकाई कमिटीका अध्यक्ष कुमार लामाले व्यवस्थापनले वार्ता आह्वान गरे पनि पहिलो दिन वार्ता गर्ने माहोल बन्न नसकेको बताए । ‘हिजो (मंगलबार) राति वार्ता आह्वान गरिएको चिठी पाएपछि बिहान काम सुरु गरेका थियौं तर वार्ता समिति बनाएर चिठी बुझाउन जाँदा अर्कै व्यवहार भयो,’ उनले भने, ‘कम्पनी घाटामा भएकाले कर्मचारी कटौती गर्नुपरेको हामीलाई पनि थाहा छ तर जसलाई बिदाइ गरिन्छ उसलाई दुई/चार पैसा किन नहोस् हाँसीखुसी पठाइयोस् भन्ने मात्र माग हो ।’
पब्लिकेशन्स्ले वार्ता आह्वान गरेपछि कान्तिपुर पब्लिकेशन्स् कर्मचारी मजदुर संघ तथा अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघनिकट मजदुरले बुधबार पत्रिका वितरण थालेकाले अब संवादबाट समस्या समाधानको संकेत देखिएको मानव संसाधन विभागका प्रमुख खनालको भनाइ छ । यद्यपि, कान्तिपुर पब्लिकेशन्स् कर्मचारी युनियन तथा अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघनिकट मजदुरले भने बुधबार पनि पत्रिका वितरण गरेनन् । ‘समस्याको समाधान अवरोध गरेर होइन, संवादबाट हुन्छ भन्नेमा उहाँहरू पनि स्पष्ट हुनुहुन्छ, अब वार्ताको थालनी भएको छ, समस्याको पनि समाधान हुन्छ,’ खनालले भने ।

समाचार

चिकित्सा आयोग–सीटीईभीटी किचलोले विद्यार्थी दुविधामा

- सुदीप कैनी

(काठमाडौं)
चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा किचलो हुँदा मेडिकल शिक्षाको डिप्लोमा तहमा भर्नाको तयारीमा रहेका विद्यार्थी दुविधामा फसेका छन् ।
आयोगले सामान्य चिकित्सा (एच), नर्सिङ, फार्मेसी, ल्याबलगायत विषयमा सीटीईभीटीले सिट निर्धारण नगरेको जनाउँदै विद्यार्थीलाई भर्ना नहुन सूचित गरेको छ । ऐनमा सिट निर्धारण आयोगबाट हुने व्यवस्था छ । सीटीईभीटीले भने आफ्नै ऐनअनुसार भर्ना खुलाएको दाबी गरेको छ ।
सीटीईभीटीले २०४५ सालमा आफ्नै ऐनबाट स्थापित भएर शैक्षिक गतिविधि गर्दै आएको थियो । २०७५ सालमा जारी चिकित्सा शिक्षा ऐनमा सीटीईभीटीका मेडिकलतर्फका शैक्षिक गतिविधि आयोगअन्तर्गत नियमन हुने व्यवस्था छ । ऐन जारी हुँदादेखि नै उक्त व्यवस्थाप्रति असन्तुष्ट सीटीईभीटीका पदाधिकारीले यसपालि सिट निर्धारणबिनै भर्ना आह्वान गरेपछि किचलो उत्कर्षमा पुगेको हो । सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले चिकित्सा शिक्षा आयोगले अनावश्यक हस्तक्षेप गरेको गुनासो गरे । ‘२०४५ सालदेखि चलेको संस्थालाई चिकित्सा शिक्षा ऐन ल्याएर नियमन गर्न थालियो, सिट निर्धारणको काम आयोगले २/३ वर्षसम्म नगरेर अनिर्णयको बन्दी बनायो,’ उनले भने ।
ऐनमा समेत नभएको कुरा कार्यविधि बनाएर जबर्जस्ती लाद्न खोजिएको उनले आरोप लगाए । ‘भर्ना हुने बेला भइसक्यो, सिट निर्धारण हुँदैन, सीटीईभीटीमा भर्ना हुन नदिएर विद्यार्थी बाहिर पठाउने नियत देखियो,’ काफ्लेले भने, ‘जबर्जस्ती गर्न थालेपछि आफ्नै कानुनअनुसार भर्ना लिएर अघि बढ्न खोजिएको हो ।’ आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भने विज्ञप्ति जारी गरेर सीटीईभीटीले स्तरवृद्धि नगरिएका, सम्बन्धन प्राप्त नगरेका, मापदण्ड पूरा नगरेका र सिट निर्धारणसमेत नभएका शिक्षण संस्थामा भर्ना आह्वान गरिएको भन्दै आपत्ति जनाएका छन् । सीटीईभीटीको उक्त कदमविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी आयोगले दिएको छ । मापदण्ड पूरा नगरेका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायत संस्थामा दर्ता नहुने आयोगले जनाएको छ । ‘नयाँ सम्बन्धन बाँड्ने, विद्यार्थी सिट संख्या तोक्ने, प्रवेश परीक्षा लिनेसम्बन्धी सूचना प्रकाशित गरी चिकित्सा शिक्षा ऐनको अपव्याख्या गर्ने, अयोगको निर्देशन पालना गर्नु नपर्ने भनी पत्राचार गर्ने जस्ता सीटीईभीटीबाट भए/गरिएका कामकारबाहीप्रति ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा छ । आयोगका निर्देशक डा. दिलीप शर्माले सीटीईभीटीले चिकित्सा शिक्षा ऐन नमान्ने जनाएपछि समस्या भएको बताए । ‘आयोगले मेडिकलतर्फको सिट निर्धारण गर्दै आएको थियो, यसपालि मनोमानी रूपमा आफैं सिट तोकिएको छ,’ उनले भने ।
सीटीईभीटीले सहमति र समन्वयमा गर्नुपर्ने काम गैरकानुनी तरिकाले गरेको आयोगको भनाइ छ । आयोगबाट सिट निर्धारण गरेका शिक्षण संस्थामा मात्र भर्ना हुन विद्यार्थी, अभिभावकलाई अपिल गरिएको छ । चिकित्सा शिक्षा ऐनका कारण सीटीईभीटीले सञ्चालन गर्दै आएका स्वास्थ्यतर्फका प्रमाणपत्रमुनिका कार्यक्रम त्यतिबेलै फेजआउट भएका थिए । सीएमए, अनमी, ल्याबलगायतका कार्यक्रम फेजआउटमा परेका शिक्षण संस्थाले प्रमाणपत्रसरहको कार्यक्रम पठनपाठन गराउन स्तरवृद्धि गर्ने उल्लेख थियो । स्तरवृद्धि गर्न आयोगले सहमति नदिएका शिक्षण संस्थामा विद्यार्थी भर्ना गर्न सीटीईभीटी आफैंले सिट निर्धारण गरेपछि दुई निकायबीच द्वन्द्व बढेको हो ।
सीटीइभीटीका प्रमाणपत्र तहमुनिका १ सय ३९ कार्यक्रम फेजआउज भएका थिए । तीमध्ये ४२ वटा संस्थाको आयोगकै समन्वयमा गत वर्ष र २४ वटाको यस वर्ष स्तरवृद्धि र सिट निर्धारण भएको थियो । स्तरवृद्धि प्रक्रियामा रहेका ४९ संस्थाको सीटीईभीटी आफैंले सम्बन्धन बाँडेर सिट निर्धारणसमेत गरेको आयोगले जनाएको छ । ‘हामीलाई सम्बन्धन स्वीकृतिका लागि सीटीईभीटीले लेखेर पठाएको थियो, निर्णय गरेर पठाउन भन्यौं,’ आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने, ‘बैठकको निर्णय नपठाई, आफैं सम्बन्धन दिने र सिट निर्धारण गर्ने काम भएछ ।’ त्यसबाहेक गत वर्ष सिट निर्धारण गरेका १ सय ९९ शिक्षण संस्थामा पनि आगामी शैक्षिक सत्रका लागि सीटीईभीटीले आफूखुसी सिट तोकेको उनले जनाए ।
चिकित्सा शिक्षा ऐनले आफ्नै एक सय शय्याको अस्पताल नहुने शिक्षण संस्थामा नर्सिङ पठनपाठन गराउन रोक लगाएको छ । ऐनको उक्त व्यवस्थाप्रति पनि सीटीईभीटीले असुन्तष्टि जनाउँदै आएको छ । ‘सीटीईभीटीले मनोमानी रूपमा शिक्षण संस्था खोलेर सम्बन्धनको व्यापार चलाउने धन्दा गर्दै आएको छ,’ आयोगका एक पदाधिकारीले भने, ‘आयोगले नियमन गर्न खोज्दा निजी कलेजको प्रलोभनमा परेर सीटीईभीटीका कर्मचारीले अवज्ञा गरेका छन् ।’
सीटीईभीटीले पहुँचका आधारमा मापदण्ड नै नपुगेका शिक्षण संस्थालाई सम्बन्धन बाँड्दै आएको आरोप छ । ६५ आंगिक, ५२ साझेदारी, ४ सय २९ निजी र ६ सय ३६ सामुदायिक विद्यालयमा सीटीईभीटीको प्राविधिक धारको डिप्लोमा र प्रि–डिप्लोमा तहको पठनपाठन हुन्छ । तर, ती शिक्षण संस्थामा तोकिएको सिट संख्यामध्ये ४८ प्रतिशत विद्यार्थी मात्रै भर्ना हुने गरेका छन् ।

समाचार

करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्दै त्रिवि

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको छ । १० वर्षदेखि करारमा रहेका अध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट उपप्राध्यापक पदमा स्थायी गर्ने २०७९ पुसमा निर्णय लिएको त्रिविले करार कर्मचारीका लागि पनि त्यही बाटो रोजेको हो ।
कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्षता र सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राई उपस्थित गत असार १२ को त्रिवि सभा बैठकले शिक्षक, कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णय गरेको थियो । संशोधित नियममा ‘विश्वविद्यालयको नियमित दरबन्दीमा केन्द्रीय कार्यालयको स्वीकृतिमा अस्थायी वा करार सेवामा १० वर्ष सेवा गरेका शिक्षक, कर्मचारीलाई विशेष आन्तरिक प्रतियोगिता गर्न सकिनेछ’ भनिएको छ ।
यो संशोधनपछि २०७० सालअघि करारमा रहेका शिक्षक र कर्मचारी आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन पाउने भएका छन् । आन्तरिक प्रतिस्पर्धा २०८१ सालसम्म मात्र कायम हुने भनिएको छ । उपकुलपति धर्मकान्त बाँस्कोटाले अध्यापकका लागि लागू गरिएको व्यवस्था कर्मचारीमा पनि लागू गर्ने निर्णय गरिएको जनाए । त्रिवि सेवा आयोगले एक वर्षदेखि पूर्णता नपाउँदा अध्यापकहरूको आन्तरिक प्रतिस्पर्धा भने हुन पाएको छैन । खुल्ला प्रतिस्पर्धा पनि ठप्प छ । नियम संशोधनपछि आन्तरिक प्रतिस्पर्धामा सहभागी हुने कर्मचारीको संख्या सयभन्दा कम रहेको त्रिवि पदाधिकारीले दाबी गर्दै आएका छन् ।
अस्थायी/करारमा लोकसेवा आयोग र त्रिवि सेवा आयोगको वैकल्पिक सूचीमा परेकालाई मात्रै अवसर दिने कार्यविधि जारी गरेको विश्वविद्यालयले मनोमानी रूपमा नियुक्त करारलाई स्थायी गर्ने नीति सारेपछि विरोध भएको छ । आन्तरिक प्रतिस्पर्धाका आधारमा प्राध्यापक, कर्मचारी नियुक्ति गर्ने अभ्यासको प्राज्ञिक क्षेज्ञबाटै विरोध हुँदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विश्वविद्यालयलाई खुला प्रतिस्पर्धाबाट हुने पदपूर्तिलाई प्रभावित पार्ने गरी आन्तरिक विज्ञापनबाट शिक्षक–कर्मचारी नियुक्त नगर्न निर्देशन दिएको छ ।
त्रिविमा स्वीकृत दरबन्दीमध्ये ६५ प्रतिशत शिक्षक, कर्मचारी मात्रै कार्यरत छन् । रिक्त दरबन्दी पूर्ति गर्न सेवा आयोगको परीक्षा सञ्चालन गर्नुको सट्टा करारमा नियुक्ति गर्ने प्रवृत्ति छ । पदाधिकारी, डिन कार्यालय, विभाग र क्याम्पसले आफूखुसी शिक्षक, कर्मचारी नियुक्ति गर्छन् । २०७९ साउन आंशिक प्राध्यापकलाई त्रिवि कार्यकारी परिषद्ले करारमा नियुक्ति दिने निर्णय गरेको थियो । आंशिक, ज्यालादारीका रूपमा विश्वविद्यालय सेवामा छिर्ने, करार हुँदै आन्तरिक प्रतिस्पर्धाबाट स्वतः स्थायी हुने चक्र विश्वविद्यालयमा दशकौंदेखि चल्दै आएको छ । त्रिविले गत वर्ष करिब एक हजार ५ सय आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गरे पनि अर्थ मन्त्रालयले उनीहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएको छैन । सम्बन्धित क्याम्पस र विभागले आन्तरिक स्रोतबाटै पारिश्रमिक दिने निर्णय कार्यकारी परिषद्ले गरेको छ ।
२०६२ र २०६५ मा पनि अन्तिम पटकका लागि भन्दै करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिएको थियो । तर फेरि २०७९ पुसमा तत्कालीन कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्षताको बैठकले १० वर्षदेखि करारमा कार्यरत शिक्षकलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो ।

समाचार

सशस्त्र प्रहरीमा १८५ दरबन्दी थप

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– सरकारले सशस्त्र प्रहरीमा वरिष्ठ सईदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय ८५ दरबन्दी थपेको छ । साउन ३ को मन्त्रिपरिषद् बैठकले एसएसपीमा मात्रै ११ दरबन्दी सिर्जना गरेको छ, त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ छन् ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार जवानदेखि नायब निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर एसपीमा ४१, डीएसपीमा २८, इन्स्पेक्टरमा ४७ र वरिष्ठ सईमा ५८ दरबन्दी सिर्जना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृतस्तरमा केही पद थपिएको बताए । ‘माथिल्लो तहमा सीमित पद हुँदा लामो समयदेखि अधिकृतहरू एउटै पदमा अस्वाभाविक रूपमा लामो समयसम्म बस्नुपर्ने बाध्यता थियो । यसले जनशक्तिको मनोबल उकास्न समस्या पर्नेदेखि संगठनले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नमा पनि असर पुगेको थियो,’ उनले भने, ‘निरीक्षकमा सेवा प्रवेश गरेका अधिकृत १६/१७ वर्षसम्म सुरु भर्ना तहमै बस्नुपर्ने बाध्यता थियो । बढुवामा देखिएको यो गाँठो फुक्छ ।’ उनका अनुसार नयाँ पद सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायब महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ पद सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेकाले नयाँ पद सिर्जना गर्नुपर्ने उनको प्रस्ताव थियो । गृहले प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै अर्थले बढुवामा देखिएको गाँठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्ने गरी अधिकृतस्तरमा १ सय २७ र वरिष्ठ सईमा ५८ दरबन्दी थप्न सैद्धान्तिक सहमति दिएको थियो । अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा उक्त दरबन्दी सिर्जना गर्ने गरी प्रस्ताव पेस गरेका थिए ।

 

समाचार

किन मनसुनमा फैलिन्छ डेंगी ?

- गोविन्द पोखरेल

(काठमाडौं)
मनसुनको सुरुवातसँगै लामखुट्टेका कारणबाट सर्ने डेंगी, चिकेनगुनियाजस्ता रोग बढ्न थालेका छन् । मंगलबारसम्म नेपालका ४ हजारभन्दा बढी मानिसमा डेंगीको संक्रमण देखिँदा यो रोग ६९ जिल्लामा फैलिसकेको छ ।
सामान्यतया एक वर्षको अन्तरालमा डेंगीको प्रकोप देखिने गरे पनि केही वर्षयता प्रत्येक वर्ष डेंगीका बिरामी बढेका छन् । गत वर्ष ५४ हजार मानिसमा यसको संक्रमण हुँदा ८८ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१९ मा डेंगीको प्रकोप नेपालका ६८ वटा जिल्लामा देखिएको थियो । त्यसबेला १९ हजारमा संक्रमण भएको थियो ।
गर्मी क्षेत्र (ट्रपिकल एरिया) मा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लाहरूमा फैलिन थालेको छ । जस्तो कि, हिमाली जिल्ला संखुवासभामा यो वर्ष ६० भन्दा बढीमा डेंगी संक्रमण देखिएको छ । सन् २००४ मा पहिलो पटक चितवनमा रेकर्ड भएको डेंगी सन् २००६ मा आइपुग्दा तराईका ९ जिल्लामा फैलिसकेको थियो । त्यसको तीन वर्षपछि काठमाडौंमा सन् २००९ मा डेंगी सार्ने लामखुट्टे ‘एडिज एजिप्टी’ को पहिचान भएको थियो । सन् २०१० मा काठमाडौंमा पहिलो पटक डेंगीका बिरामीको पहिचान भएको थियो ।
सन् २०१० मा नेपालभर ९ सय १७ जनामा देखिएको डेंगी २०१६ मा त्यो बढेर १५ सय २७ मा पुगेको थियो । २०२२ मा त ५० हजारभन्दा बढीलाई डेंगी संक्रमण भएको थियो ।
डेंगी एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगी भेक्टर फैलावटमा प्रत्यक्ष असर पुर्‍याइरहेको नेपाली वैज्ञानिकहरूको एक अनुसन्धानले देखाएको छ । तराई क्षेत्रमा सापेक्षिक आर्द्रताको मात्राले डेंगी भेक्टर फैलावटमा असर पुग्ने उक्त अध्ययनको निष्कर्ष छ ।
त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक रेश्मा तुलाधरसहित ७ जना मिलेर गरेको अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो । तराई र पहाडी क्षेत्रमा हावापानीमा हुने फेरबदलले डेंगी भेक्टर फैलावटमा के–कस्तो असर पार्छ भन्ने सम्बन्धमा ‘पारासाइटस् एन्ड भेक्टर’ जर्नलमा उक्त आलेख प्रकाशित छ । डेंगी नियन्त्रण सहरी क्षेत्रमा संकलन गरेर राखिने पानी, फोहोर विसर्जन, सरसफाइ र नियन्त्रणका उपायहरू अपनाउन उक्त आलेखको सुझाव छ ।
नेपालको सन्दर्भमा फरक फरक वर्षमा डेंगीको प्रकोप देखिने गरेको छ । जुलाई/अगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बर/अक्टोबरमा प्रकोप उच्च विन्दुमा पुगेपछि विस्तारै घट्ने तुलाधारको अनुसन्धानले देखाउँछ । सन् २०१९ पछि यो वर्ष डेंगी प्रकोपका रूपमा देखा परेको छ । यसअघि अन्य स्थान हुँदै उपत्यकामा डेंगी देखिन्थ्यो । तर यस पटक काठमाडौंमा पहिलो पटक देखिएर अन्यत्र डेंगीका बिरामी देखिएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जलवायु परिवर्तनका कारण डेंगीलगायतका अन्य किटजन्य रोग नेपालमा फैलने क्रममा रहेको गत वर्ष नै बताइसकेको छ । परिषद्का प्रमुख अनुसन्धान अधिकृत एवं वातावरण स्वास्थ्य विज्ञ मेघनाथ धिमालको अनुसन्धानले पनि डेंगीलगायतका लामखुट्टेबाट सर्ने सरुवा रोगको संक्रमण बढ्ने क्रममा रहेको देखाएको छ ।
मनसुनका बेला वर्षा नियमित नहुँदा पानी पर्ने र घाम लाग्ने हुन्छ । जसले गर्दा तापक्रममा आउने उत्तरचढावले डेंगी भेक्टरको संख्या बढ्न मद्दत पुर्‍याइरहेको नेपाली अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।
धिमालको अनुसन्धानले डेंगी भेक्टर २ हजार मिटरको उचाइसम्म पाइएको थियो । तर अहिले हिमाली जिल्लाहरूमा पनि यसको फैलावट देखिएपछि थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । डेंगी भेक्टरलाई उपयुक्त तापक्रम २० देखि ३० डिग्री हो । जब यो तापक्रम धेरै समयसम्म रहिरहन्छ, तब वृद्धिदर
हुने गर्छ ।
सन् २०२१ मा एड्भान्स इन क्लाइमेट रिसर्च जर्नलमा धिमालको प्रकाशित एक अनुसन्धानले पहाडी जिल्लामा डेंगीको संक्रमण सन् २०५० सम्म बढ्ने र २०७० को दशकमा दोब्बर भइसक्ने प्रक्षेपण गरेको छ । धिमालको विद्यावारिधिको अनुसन्धानले पनि तापक्रममा भइरहने फेरबदलका कारण रोग संक्रमण बढ्ने देखाएको छ ।

तापक्रम र डेंगी
डेंगी फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ पनि हुन्छ । यो भनेको डेंगी भाइरस बोकेको लामखुट्टेले फुल पार्दा ती फुलमा पनि भाइरस ट्रान्सफर हुन्छ । वयस्क अवस्थामा पुग्दा लामखुट्टेमा डेंगी भाइरस सरिसकेको हुन्छ । डेंगी सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुने अनुसन्धानहरूमा देखिएको छ । तापक्रम बढेसँगै यी लामखुट्टेले मानिसलाई टोक्ने दर बढ्ने विज्ञहरू बताउँछन् । सबैभन्दा बढी सक्रिय २५ देखि २६ डिग्री तापक्रम हुँदा पाइएको छ ।
एउटै लामखुट्टेले २ देखि ६ जनासम्म टोक्ने तुलाधरको अध्ययनमा उल्लेख छ । जबकि मलेरिया, जापानी इन्सेफ्लाइटिस सार्ने लामखुट्टेले एउटा मानिसलाई टोकेर नै अघाउने अनुसन्धानहरूमा उल्लेख छ । तापक्रम बढ्दा पाचन प्रक्रिया पनि चाँडो हुँदा टोक्ने दर पनि बढ्छ । जसले गर्दा यी प्रजातिको वृद्धिदर पनि सोही अनुपातमा हुने गर्छ । प्रायः यी लामखुट्टे ३५ डिग्री तापक्रम नाघेपछि निष्क्रिय हुन्छन् । यी प्रजातिको लामखुट्टको जीवनचक्र १० दिनमा पूरा भइसक्छ । पहाडी भेगमा भने दुई हप्तामा जीवनचक्र पूरा गरेको पनि पाइएको छ । काठमाडौंको हकमा भने लामखुट्टेका लागि चाहिने वातावरण धेरै राम्रो भएकाले वृद्धिदर बढिरहेको छ ।
‘लामखुट्टेको प्रकोप वर्ष दिन बिराएर आउने भन्ने हुँदैन । उपयुक्त वातावरण भयो भने हरेक वर्ष पनि फैलिन सक्छ,’ सहप्राध्यापक तुलाधार भन्छिन्, ‘संख्या कम होला तर प्रकोप जहिले पनि हुन सक्छ ।’ उपयुक्त तापक्रम हुँदा छिटोछिटो फुल पार्ने र जीवनचक्र पनि छिटै समाप्त हुन्छ । संख्या धेरै हुने भएपछि संक्रमण बढिरहेको उनको भनाइ छ । काठमाडौंको हकमा तापक्रम २० देखि ३० हुने भएकाले पनि लामखुट्टेको फैलावट धेरै हुने अनुमान छ ।

काठमाडौंमा किन बढ्यो ?
ग्यारेज पसलमा राखिने टायर र त्यहाँभित्र जम्ने पानी लामखुट्टेलाई प्रजननका लागि उपयुक्त मानिन्छ । त्यो ठाउँमा तापक्रम पनि उसलाई वृद्धि गराउने किसिमको तयार हुन्छ । मनसुनको समयमा काठमाडौंमा फोहोरको मात्रा धेरै थुप्रिने गर्छ । फोहोरबाट निस्कने लिचेटमा वर्षाको पानी मिसिँदा लामखुट्टेका लागि पनि उपयुक्त हुन्छ । जस्तो कि २०१९ को प्रकोपमा काठमाडौंमा फोहोरको डंगुरलाई पनि एउटा कारण मानिएको थियो ।
डेंगी संक्रमण दर जलवायु परिवर्तन र तापक्रममा आएको उतारचढावलाई पनि लिने गरिएको छ । पहिलापहिला ट्रपिकल र सबट्रपिकल क्षेत्रमा मात्रै देखिने यसको संक्रमण अहिले टेम्परेट एरियामा पनि पाइन थालेको छ । यसको मुख्य कारण बढ्दो तापक्रम वृद्धि र सहरीकरणलाई विज्ञहरूले मान्ने गरेका छन् ।
डेंगी फैलिने लामखुट्टे सफा पानीमा पाइन्छ । यसको विशेषता भनेको पानी सुकेर सुक्खा भएको ठाउँमा पनि ‘एग सर्भाइभ’ हुन्छ ।

 

Page 4
युवा ग्यालरी

अब टिकटकमा टेक्स्ट पोस्ट गर्न मिल्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चर्चित सामाजिक सञ्जाल टिकटकले पनि माइक्रोब्लगिङ सुविधा थप गरेको छ । माइक्रोब्लगिङ अर्थात् भिडियो वा तस्बिरबिना शब्द/वाक्य मात्रै पनि पोस्ट गर्न मिल्ने उत्तम विकल्प कुन हो भन्नेमा परम्परागत ट्वीटर र नयाँ थ्रेड्सबीच प्रतिस्पर्धा चलिरहेका बेला टिकटकले नयाँ सुविधा थपेको हो ।
भिडियो स्ट्रिमिङ सुविधाका लागि चर्चित टिकटकले पछिल्लो अपडेटअनुसार प्रयोगकर्तालाई तस्बिर, शब्दहरू वा भिडियो पोस्टमध्ये के पोस्ट गर्ने भनेर छान्न मिल्ने सुविधा दिने भएको हो । जुलाई महिनाकै सुरुवातमा चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वको कम्पनीले केही देशमा स्पटिफाई र एप्पल म्युजिकको प्रतिस्पर्धी प्लाटफर्म टिकटक म्युजिक पनि सार्वजनिक गरेको थियो । अहिले एक्स बनेको ट्वीटरमा विश्वकै धनाढ्य मालिक इलन मस्कले एकपछि अर्को परिवर्तन गर्न थालेपछि सामाजिक सञ्जाल क्षेत्रका विभिन्न ठूला कम्पनी ट्वीटरका परम्परागत प्रयोगकर्तालाई आफूतर्फ तान्ने प्रयासमा जुटेका छन् । मस्कले दैनिक पढ्न मिल्ने ट्वीटको कोटा तोकेकै साता मेटाले प्रतिस्पर्धी थ्रेड्स एप सार्वजनिक मात्रै गरेन, केही दिनमै दस करोड प्रयोगकर्तासमेत जुटायो ।
सोमबार मस्कले ट्वीटरको नयाँ लोगो र पुनःसंरचनाको घोषणा गरेसँगै टिकटक पनि एक विज्ञप्तिमार्फत माइक्रोब्लगिङका प्रयोगकर्ता आकर्षित गर्ने दौडमा सामेल भएको हो । ‘शब्दहरू मात्रै पोस्ट गर्न मिल्ने पछिल्लो सुविधामार्फत हामी टिकटकमा भएका सबैलाई आफ्नो कन्टेन्ट सिर्जना गर्ने विकल्पलाई अझै फराकिलो बनाउन चाहन्छौं,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देशमा विभिन्न अड्चनको सामना गर्नुपरे पनि टिकटक अत्यन्तै लोकप्रिय छ ।

युवा ग्यालरी

लन्डन ओलम्पिक्स

- कान्तिपुर संवाददाता


सन् २०१२ मा आजकै दिन (जुलाई २७) मा बेलायतको राजधानी लन्डन ओलम्पिक्स सुरु भएको थियो । बेलायती महारानी एलिजाबेथ द्वितीयले उद्घाटन गरेको प्रतियोगिताको २७ औं संस्करण अगस्ट १३ सम्म चलेको थियो ।
लन्डन आधुनिक ओलम्पिक खेल तीन पटक आयोजना गर्ने पहिलो सहर हो । त्यसअघि लन्डनमा १९०८ र १९४८ मा ओलम्पिक खेल आयोजना गरिएको थियो । लन्डन ओलम्पिक्सअन्तर्गतका अधिकांश स्पर्धा पूर्वी लन्डनको ओलम्पिक पार्क क्षेत्रमा भएका थिए । ओलम्पिक्सअन्तर्गत ३६ खेलमा ३ सय ४ विधाका लागि १० हजार ५ सय ६८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त ओलम्पिकका खेल औसतमा दैनिक एक लाख ८० हजार दर्शकले हेरेका थिए । प्रतियोगितामा ४६ स्वर्णसहित १०४ पदक जित्दै अमेरिका प्रथम भएको थियो । ३८ स्वर्णसहित ८८ पदक जितेको चीन दोस्रो र २४ स्वर्णसहित ८२ पदक जितेको रुस तेस्रो भएका थिए । २९ स्वर्णसहित ६५ पदक जितेको आयोजक बेलायत चौथो भएको थियो । प्रतियोगितामा ६८ देशले पदक जितेका थिए ।
पौडीबाज माइकल फेल्प्सले आफ्नो अन्तिम ओलम्पिक्समा ४ स्वर्ण (दुई व्यक्तिगत गरी) कुल ६ पदक जितेका थिए । फेल्प्सले ओलम्पिकमा १८ स्वर्णसहित २२ पदक जितेका छन् । त्यस्तै २०१२ को ओलम्पिकमा धावक युसेन बोल्टले तीन इभेन्टमा स्वर्ण जितेका थिए । त्यस्तै, चीनकी १६ वर्षीया पौडीबाज यीले महिला २०० मिटर र ४०० मिटर इन्डिभिजुअल मेड्लीमा विश्व कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

युवा ग्यालरी

आश्रमकी आमा

- हरिराम उप्रेती

(गोरखा)
परीक्षा बिगारेकामा पश्चाताप गर्दै ५ वर्षीया बालिकाले मुना लामालाई भन्दै थिइन्, ‘ममी, जोडा मिलाऊ बिग्रियो ।’ मुनाले ती बालिकालाई काखमा बोकिन्, गालामा म्वाईं खाँदै सान्त्वना मात्र दिइनन्, भोलिको परीक्षा राम्रो गर्न हौसला थपिन् । गोरखा नगरपालिका–६ पाटेचौरस्थित मानव सेवा आश्रमको आन्तरिक काममा तल्लीन मुनालाई खोज्दै आइतबार मध्याह्न विद्यालयबाट फर्किएका बालबालिका एकपछि अर्को गर्दै उनको कार्यकक्षमै पुगे । मुनाको काखमा बस्न तँछाडमछाड गरे । आफ्ना काम थाती राख्दै मुना बालबालिकासँगै रमाउन थालिन् । स्कुल जाँदाआउँदा देखेका सुनेका साना कुरा ‘ममी’ मुनालाई सुनाउन बालबालिका तँछाडमछाड गर्दै थिए ।
आश्रममा आश्रित ४४ बालबालिकाको स्वास्थ्यप्रति मुना सबैभन्दा बढी सजग बन्छिन् । कोही बिरामी परे उनलाई रातभर निद्रा पर्दैन । स्वास्थ्य अवस्था ठीक भएर बालबालिका हाँसखेल गर्दा उनको मुहारमा चमक आउँछ । उद्धारको क्रममा स्वास्थ्य अवस्था निकै जटिल देखिएका बालबालिकाले पनि आश्रमको रेखदेखपछि तंग्रिएर नयाँ जीवन पाएका छन् । डेढ वर्षअघि पोखरा
छोरेपाटनको सडकमा मानसिक रूपमा विक्षिप्त अवस्थामा भेटिएकी आमा र छोरीको मानव सेवा आश्रमले उद्धार गरेको थियो । महिला हाल पोखरामा उपचाररत छिन् । उनकी डेढ वर्षकी छोरीलाई भने उद्धारपछि मानव सेवा आश्रम गोरखा शाखामा पठाइयो ।
‘बालिका यहाँ लिएर आउँदा स्वास्थ्य अवस्था नाजुक थियो, स्वास्थ्यकर्मीलाई देखायौं, होलबडी चेकअप पनि भयो, कुपोषण भएको रहेछ,’ उनले भनिन्, ‘ती बच्ची सानो भएर नुहाउन पनि डराउने । रुन पनि नसक्ने, आँखा पनि हेरिरहने भयो म आफैं आत्तिए ।’ तातो र झोलिलो खानेकुरा दिएर सिरकभित्र राखेपछि ती बालिका चल्न थालिन्, मुनाले बल्ल सन्तोषका सास फेरिन् । डेढ वर्षको अवधिमा हाल ती बालिका कुपोषणमुक्त भएकी छन् । उपचाररत आमाको स्वास्थ्य अवस्था पनि सुधारोन्मुख छ । ‘त्यस्तो अवस्थाको बालिका कुपोषणमुक्त भएर खेल्दा, हिँडडुल गरेको देख्दा त्यसै खुसी मिल्दो रहेछ,’ उनले भनिन् । बालबच्चासँग हिँड्दा, डुल्दा र उद्धारका क्रममा मुनाले थुप्रै जटिलतासँग जुधेकी छन् ।
२८ वर्षीया मुना बालबालिकाको सेवामा रमाउन थालेको आठ वर्ष बितेको छ । मानव सेवा आश्रमका देशभर १९ जिल्लामा १३ शाखा छन् । आश्रमअन्तर्गतका गोरखा र हेटौंडा बालबालिका शाखाअन्तर्गत पर्छन् । बालबालिका शाखामा अभिभावकविहीन, सडक आश्रित बालबालिकालाई उद्धार, उपचार, पठनपाठन, पालनपोषणसँगै परिवारको खोजी गरी पुनर्मिलनसमेत गराइन्छ । आश्रममा आश्रित सबै बालबालिकाको संरक्षकको मुख्य जिम्मेवारीमा मुना छिन् । मकवानपुरको हेटौंडा उपमहानगर–१३ की मुना कक्षा १२ को परीक्षापछि २०७२ सालबाट मानव सेवा आश्रममा आबद्ध बनेकी हुन् । मानव सेवा आश्रमको ज्ञान हस्तान्तरण कार्यक्रममा सहभागी हुन पुगेकी मुना आश्रममा भेटिएकी एक बालिकाबाट प्रभावित बनिन् ।
‘सडकमा जीवनयापन गर्ने एक महिला बलात्कृत भएपछि आश्रमले उद्धार गरेको घटना त्यहाँ सुनाउनुभयो । बलात्कारबाट जन्मिएकी महिलाको छोरी पनि भेटें, म त्यहींबाट प्रभावित भएकी हुँ,’ उनले भनिन् । स्वयंसेवी बन्ने एकल निर्णय गरेकी मुनालाई घरपरिवार मनाउनुपर्ने अर्को चुनौती थियो । ‘भर्खर १२ कक्षा सकेर बसेकी थिएँ, विवाहको दबाब पनि थियो, घरबाट बजार जानुपरे पनि परिवारसँग सोधेर जानुपर्थ्यो, घरै छाडेर आश्रममा गएर बस्न स्वीकृत दिने कुरै भएन,’ उनले भनिन्, ‘तीन दिनको ट्रेनिङ होटलमा बसेर लिनुपर्ने रहेछ ममी भनेर झूट बोलें र आश्रममा गएर बसें ।’ त्यसपछि भने मुनालाई आश्रम छाड्न मन लागेन । परिवारका सदस्यलाई आफू अब आश्रममै सेवामा लाग्ने बताइन् ।
‘मैले गलत गरेकी छैन भनेर मन ढुक्क थियो,’ उनले भनिन्, ‘काम गर्दैर् गएपछि परिवारले बुझ्दै जानुहुन्छ भन्ने सोचले सेवामा लागेकी हुँ ।’ एक दाइ र तीन दिदीबहिनीमा जेठी मुनालाई आफ्ना कामबारे परिवारका सदस्य बुझाउन भने महिनौं लाग्यो । तर मानव सेवा आश्रमले सडक मानव आश्रितलाई उद्धार गरेर परोपकारी कार्य गरेको चर्चा हुँदा मुनाका परिवारलाई पनि सन्तोष मिलेको छ । ‘अहिले त परिवारका सदस्यले सबै कुरा बुझ्नुभयो । जिस्किएर आश्रम छाडिदिउँ त ममी भन्दा पनि पर्दैन भन्नुहुन्छ,’ उनले भनिन् ।
मानव सेवा आश्रमको केन्द्रीय कार्यालय हेटौंडामा स्वयंसेवी बनेर आबद्ध बनेकी मुनाले काठमाडौं मानव सेवा आश्रमको जिल्ला सहसंयोजकसम्मको जिम्मेवारी पनि पूरा गरिसकेकी छन् । काठमाडौं मानव सेवा आश्रममा स्वयंसेवी भूमिका निभाउँदाका भिन्न/भिन्न परिघटना उनले भुल्न सकेकी छैनन् । मध्यरातमा पनि सडकका गल्लीमा पुगेर मानिसको उद्धार गरी आश्रममा ल्याएकी छन् । एक रात मुनालाई अर्धनग्न अवस्थामा हिँडिरहेकी महिलाको उद्धारका लागि सहयोगसहितको फोन आयो । ‘राति करिब साढे ११ बजेको थियो, उहाँले आफ्नो नजिक पर्नै नदिने, भाषा पनि खासै नबुझिने । बल्ल तल्ल उद्धार गर्‍यौं,’ उनले भनिन्, ‘उहाँ गर्भवती हुनुहुँदो रहेछ, डाक्टरले करिब एक महिनामा डेलिभरी हुने बताए पनि उहाँले एक सातामै बच्चा जन्माउनुभयो ।’
तर बच्चा जन्मिएपछि फेरि अर्को समस्या आइलाग्यो । ‘अस्पताल लग्यौं । आमा र छोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेछ,’ मुनाले ती दिन सम्झिन्, ‘तर मेरो होइन भन्दै उहाँले बच्चालाई दूध नै खुवाउन नमान्ने ।’ उपचारकै क्रममा भागेकी ती महिला अझै भेटिएकी छैनन् ।
‘म त्यो दिन उद्धार गरिएकी महिला देखे भेटे भने अझै चिन्छु, उहाँ भेटिनुहुन्छ कि भनेर कतैको आश्रममा पुग्दा ख्याल गर्छु कतै देखिँदैन,’ उनले भनिन् । तत्कालीन अवस्थामा आश्रमको काठमाडौं शाखामा बालबालिकाको स्याहारको मुख्य भूमिकामा मुना थिइन् । काठमाडौं शाखामा रहेका बालबालिकालाई बाल शाखाअन्तर्गत गोरखा पठाइयो । सेवामा रहँदा मुनाले बालबालिकासँग देखाउने हिमचिम आश्रमका अन्य सदस्यले पनि ख्याल गरेका थिए । उनलाई २०७४ सालमा काठमाडौंबाट गोरखा शाखाको सेवामा पठाइयो । ‘सानैदेखि मेरो संरक्षकत्वमा रहेका बालबालिका पनि गोरखामा थिए, उनीहरूलाई सम्झिएर पनि गोरखा आएँ,’ उनले भनिन् ।
गोरखा आएपछि पनि पारिवारिक झमेलाले बेसहारा बनेका थुप्रै बालबालिका उनकै अगुवाइमा उद्धार भएको छ । सिरानचोक गाउँपालिका–८ जौवारीबाट २०७५ मा चारजना बालबालिकाको उद्धार गरिएको थियो । बाबुको मृत्यु र आमाको दोस्रो विवाहपछि बेसहारा बनेका बालबालिकालाई कक्षा ५ मा पढ्ने दिदीले निमेक गरेर पालनपोषण गरेको खबर सुनेपछि मानव सेवा आश्रमबाट उद्धारका लागि टोली जौवारी पुगेको थियो । भाइबहिनी पढाउने बालिकालाई पनि उद्धार गरेर मानव सेवा आश्रमले विद्यालय भर्ना गर्‍यो । ती बालिकाले अहिले एसईई दिएकी छन् । बालबालिकाको खुसीमा मुनासँगै मानव सेवा आश्रमको पनि सफलता जोडिएको छ ।
मानव सेवा आश्रमको गोरखा शाखामा हाल गोरखासहित कास्की, काठमाडौं, कैलाली, मकवानपुर, चितवनलगायत जिल्लाबाट उद्धार भएका बालबालिका छन् । आश्रमका अधिकांश बालबालिका मुनालाई ‘ममी’ भनेर बोलाउँछन् । केहीले दिज्यु पनि भन्छन् । ‘बच्चाले दुःख दिन्छन्, सहन सक्नुपर्छ, संस्कार र शिक्षामा कमी गर्नुभएन,’ उनी भन्छिन् । आठवर्षे अवधिमा मुनाले थुप्रै चुनौतीसँग जुधेकी छन् । स्थानीय र प्रदेश सरकारको सहयोग, डोनेसन, मुट्ठीदान जस्ता सहयोगबाट आश्रमको व्यवस्थापन हुँदै आएको छ । गोरखा शाखासँगै मुना मानव सेवा आश्रमको प्रदेश संयोजकको भूमिकामा पनि छिन् । प्रदेश र स्थानीय सरकारलगायतको सहयोग रकमबाट गोरखा नगरपालिका–८ मा मानव सेवा आश्रमको ३१ कोठे भवन पनि निर्माणाधीन छ ।

 

युवा ग्यालरी

सचेतना जगाउँदै कानुनका विद्यार्थी

- तृप्ति शाही

(वीरेन्द्रनगर)
दैलेखको गुराँस गाउँपालिका–७ का २१ वर्षीय दीपेन्द्रकुमार बीसी मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको स्कुल अफ लमा कानुन विषयमा स्नातक तह अध्ययन गर्दै छन् । उनी पढाइका साथै वीरेन्द्रनगरका विभिन्न विद्यालयका विद्यार्थीलाई कानुनी सचेतना सिकाउने काममा व्यस्त छन् । गत वर्षको जेठ महिनादेखि यो काम थालेका उनले यस बीचमा ११ वटा विद्यालयका विद्यार्थीलाई कानुनका विभिन्न व्यवस्थाबारे सिकाए । ‘समाज कानुनअनुसार चल्नुपर्छ । कानुनको उपभोग पनि समाजकै मान्छेहरूले गर्ने हुन्,’ उनले भने, ‘कानुनको अज्ञानतामा क्षमा पनि हुँदैन, सबैले थाहा पाउनुपर्छ भनेर अभियान चलाएको हुँ ।’
उनले आफूसँगै पढ्ने साथीहरूसँग मिलेर ‘नागरिक आवाज कानुनी सचेतना केन्द्र’ खोलेर अभियान चलाएका हुन् । धेरै नागरिकलाई कानुनबारे जानकारी छैन । जसका कारण कानुनी सजाय भोग्नुपर्ने अवस्था रहेकाले अभियान सुरु गरेको उनको भनाइ छ । ‘अध्ययन गरेर जानेका कुराहरू हामीले सिकाउँदै आएका छौं,’ उनले भने, ‘अब त फुर्सद हुनासाथ साथीहरूलाई लिएर गाउँगाउँका विद्यालयमा जाने बानी नै भइसक्यो ।’
समूहले अहिलेसम्म ११ वटा विद्यालयमा कानुनी सचेतना कक्षा सञ्चालन गरेको छ । उनीहरूले सवाल–जवाफमा आधारित ‘संघीयता संवाद’ कार्यक्रम पनि वीरेन्द्रनगरमा सम्पन्न गरेका छन् । केन्द्रले सञ्चालन गरेको सचेतना अभियानबाट झन्डै ५ सय बढी विद्यार्थी र केही समुदायका नागरिकलाई कानुनबारे जानकारी गराएको उनको भनाइ छ । ‘यो काम हामीले निःशुल्क सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘कुनै विद्यालयमा आउँदा–जाँदाको खर्च पनि व्यक्तिगत रूपमै व्यहोर्छौं ।’ उनले कर्णालीकै विकट मानिने मुगुस्थित छायानाथ रारा नगरपालिकामा समेत कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिसकेको बताए ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ की २१ वर्षीया प्रतिष्ठा सुनार यो अभियानकी विद्यार्थी हुन् । समाजलाई कानुनबारे जानकारी गराउन अभियानमा जोडिएको उनले बताइन् । ‘आफूले पढेर सिकेको कुरा विद्यार्थीहरूलाई सिकाउन पाउँदा खुसी लाग्छ,’ उनले भनिन्, ‘हाम्रो समाजमा अझै पनि महिलालाई तल्लो स्तरको नागरिकका रूपमा हेरिन्छ, विद्यालयहरूमा गएको बेला महिला हक–अधिकारबारे पनि जानकारी दिने गरेकी छु ।’
विश्वविद्यालयमै कानुन विषय पढिरहेका कालीकोट पताला गाउँपालिका–१ का २२ वर्षका अनिल कार्कीले स्वतःस्फूर्त अभियानमा साथ दिएका छन् । सानैबाट समाजका लागि केही गर्नुपर्छ भन्ने मनमा लागिरहने भएकाले साथीको कानुनी सचेतना फैलाउने अभियानमा आफूले साथ दिएको उनको भनाइ छ ।
केन्द्रमा कानुनका २१ जना विद्यार्थी आबद्ध छन् । ‘अब यो समितिलाई लुज फोरमका रूपमा मात्र सीमित नगरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेरै अघि बढ्ने योजना छ,’ बीसीले भने, ‘कानुनी सचेतनासँगै थप केही काम समाजका लागि गर्न सकिन्छ कि भनेर पनि सोचिरहेका छौं ।’ कानुनमा स्नातक सकेपछि विपन्न र पीडितलाई निःशुल्क कानुनी सेवा दिने
आफ्नो उद्देश्य रहेको उनले बताए ।

Page 5
समाचार

पर्सामा भूमिगत पानीको सतह घट्दा हाहाकार

- भूषण यादव

(वीरगन्ज)
वीरगन्ज–८ गहवाका अजय चौरसियाको दैनिकी गत महिनादेखि बदलिएको छ । बिहान ३ खेप पानी ओसारेपछि फेरि एक निद्रा सुत्छन् । माईस्थानमा एक दशकदेखि पान व्यवसाय गर्दै आएका चौरसिया भन्छन्, ‘छिमेकीको घरको चापाकलले बिहान ४ बजेसम्म अलिअलि पानी दिन्छ, बिहानै पानी लिन गइएन भने खाना पकाउन र पिउन पानी नै हुँदैन ।’
उक्त टोलमा चौरसिया जस्तै अधिकांशको घरका चापाकल सुकेका छन् । महानगरपालिकाले केही दिनअघि गल्ली र सडक छेउमा धारा जडान गरिदिएको छ । ‘धाराको पानी फोहोर आउँछ,’ चौरसिया भन्छन्, ‘त्यसले कपडा र भाडाबर्तन धुने काम गर्छौं । खानेपानीका लागि छिमेकीको चापाकलमा लिन जान्छौं ।’ महानगरले सरकारी धारा जडान गरेपछि केही राहत भएको उनले सुनाए ।
वीरगन्ज–२ छपकैयाका सन्तोष पटेलको चापाकलमा पनि २ महिनायता पानी आउँदैन । उनको घरमा समेत सरकारी धारा जडान भएको छैन । पानी नहुँदा गर्मीको समयमा दैनिकी कष्टकर बनेको उनले सुनाए । महानगरपालिकाले अहिले बिहान–साँझ ट्यांकरमार्फत पानी वितरण सुरु गरेपछि केही सहज भएको उनले सुनाए । ‘चापाकल सुकेको सुरुको केही हप्ता असाध्यै कष्ट भएको थियो,’ पटेल भन्छन्, ‘पानीको जोहोमा लाग्दा कामकाज प्रभावित भएको छ, बालबच्चाको पढाइमा समेत बाधा भएको छ ।’
दुई महिनायता वीरगन्जलगायत आसपासका क्षेत्रका चापाकलबाट पानी आउन घटेपछि हाहाकार छ । मध्यबर्खा हुन लाग्दासमेत वीरगन्जका चापाकल झनै सुक्न थालेपछि पानीको समस्या भएको हो । वीरगन्ज र आसपासका क्षेत्रमा खानेपानीको संकटसम्बन्धी पोस्टले अहिले सामाजिक सञ्जाल भरिएको छ । वीरगन्ज–१४ का बासिन्दाले खानेपानी व्यवस्थापनको माग गर्दै गत बिहीबार वडाध्यक्षलाई ज्ञापनपत्र नै बुझाए । जनप्रतिनिधिलाई छिटो खानेपानीको व्यवस्थापन गर्न उनीहरूले चेतावनी पनि दिए । ‘वीरगन्ज महानगर र आसपासका क्षेत्रमा दुई महिना भयो पानी सुकेको,’ पिप्राका विशेश्वर कुर्मीले भने, ‘नसोचेको समस्या आउँदा महानगरवासीको जनजीवन कष्टकर छ ।’
जनमत पार्टीका नेता मुकेश द्विवेदीले बजार क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत पानीको हाहाकार रहेको बताए । ‘गाउँमा समेत अकल्पनीय रूपले चापाकल सुकिरहेका छन्,’ द्विवेदीले भने, ‘अवस्था भयावह बन्दै छ । पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी तत्काल जनतालाई राहत उपलब्ध गराउनतर्फ सरोकारवाला निकायले पहल गर्नुपर्छ ।’
पर्साको सखुवाप्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकाले ट्यांकरबाट गाउँमा पानी बाँडिरहेका छन् । चापाकलमा पानी नआउने समस्या बढेसँगै मर्मत गर्ने मिस्त्री (प्लम्बर) लाई अहिले भ्याइनभ्याई छ । ५ वर्षदेखि प्लम्बर पेसामा संलग्न वीरगन्ज रानीघाटका वीरशमसेर अहिले जस्तो कामको चाप कहिले नभएको सम्झन्छन् । हिजोआज एक दिनमा सरदर २० वटा फोन कलमा पानी आउन छाडेकाले मर्मतका लागि बोलावटको आउने उनले बताए । तर, उनले दिनमा बढीमा ३ देखि ४ वटामात्र बनाउन भ्याउँछन् । ‘हाम्रो समूहमा ४ जना छौं,’ उनले भने, ‘आफू जान नसकेको ठाउँमा साथीलाई खबर गर्छौं ।’
पर्सा–१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगन्ज र आसपास देखिएको पानीको समस्या समाधानका लागि गत बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र खानेपानीमन्त्री महिन्द्रराय यादवलाई ध्यानाकर्षण गराइसकेको बताए । ‘खानेपानी अभावले निम्त्याएको भयावह अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छौं,’ उनले भने ।
लामो समयदेखि चुरेमाथिको दोहन, जथाभावी बोरिङ जडान, लामो समयदेखि आवश्यक परिणाममा वर्षा नहुनु, पोखरी र कुँवा मासिनु, नदी अतिक्रमणमा पर्नु, कंक्रिटीकरण, पारिपट्टि विहारमा जलनल योजनाका नाममा बोरिङ, वर्षात्को पानीको संरक्षण नहुनु नै पानीको संकट आउनुका मुख्य कारण रहेको विश्लेषण वीरगन्जमा आयोजित बहसहरूमा हुन थालेको छ । चापाकल सुख्ने क्रम बढेसँगै अहिले सरकारी धाराको माग बढेको छ । धारा जडानका लागि निवेदन लिएर खानेपानी संस्थानमा पुग्ने महानगरवासीले कम्तीमा १० देखि १५ दिनपछि पालो पाइरहेका छन् । नयाँ धारा जडानका लागि कार्यालयमा बजेटसमेत अपुग रहेको कर्मचारी बताउँछन् ।
यसैबीच वीरगन्ज–१ देखि १६ तथा १७ र १९ वडामा खानेपानी संस्थानसँग समन्वय गरी ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा जडान गर्ने महानगरपालिकाले जनाएको छ । यसका लागि सम्बन्धित वडामा निवेदन दिन आह्वानसमेत गरेको छ । अनधिकृत रूपमा डिप बोरिङ जडान गर्ने काम बन्द गर्न महानगरपालिकाले शुक्रबार सूचना जारी गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत जल सतह घट्दै गएकाले यस्तो समस्या आएको बताए । ‘पाइप नगएको वडामा ट्यांकरमार्फत पानी वितरण गर्ने र १० हजार लिटरको ट्यांकी राख्ने योजना बनाएका छौं,’ उनले भने ।
खानेपानी तथा सरसफाइ डिभिजन इकाइ कार्यालय पर्साका प्रमुख किशोरी यादव पर्याप्त वर्षा नहुँदा भूमिगत स्रोतमा पानी पुनर्भरण प्रक्रिया बिथोलिएको बताउँछन् । ‘घर बनाउँदा पनि जुन क्षेत्र खाली रहन्छ त्यसमा हामी ढलान गर्छौं, पानी परे पनि त्यो नालामा बगेर खोलामा पुग्छ, जमिनमुनि पानी जानै पाएको छैन । त्यसले भूमिगत स्रोतमा रिचार्ज हुन पाएन,’ उनले भने ।
वीरगन्ज महानगरपालिकाको खानेपानी शाखाका अनुसार असारयता महानगरका करिब ९० प्रतिशत चापाकल सुकेका छन् । शाखा प्रमुख भोगेन्द्र चापागाईंका अनुसार ३२ वटा वडामा घरधुरी संख्या ४७ हजार १ सय १४ छ । ती घर र सार्वजनिक स्थान गरी २७ हजार ४ सय ९० चापाकल छन् । महानगरमा खानेपानी संस्थानका धारा जडान भएको घरधुरीको संख्या १२ हजार ९ सय २५ छ । लामो समयदेखिको खडेरी र गर्मीका कारण जमिनमुनिको पानीको सहत तल गएका कारण चापाकलमा पानी आउन छाडेको चापागाईंले जनाए ।
वातावरणविद्का अनुसार चुरेक्षेत्रको जथाभावी दोहनले अहिले खानेपानीको समस्या देखिएको हो । चुरे र तराईको अन्तरसम्बन्धबारे विद्यावारिधि विजयकुमार सिंह दनुवार अहिले वीरगन्जलगायत तराईका सहर र गाउँमा खानेपानीको समस्याको मुख्य कारण नै चुरेको जथाभावी दोहन भएको बताउँछन् । ‘चुरेबाट आउने पानी जमिनले सोस्न सकेको छैन,’ उनले भने, ‘पानी रिजार्च हुन नसकेकाले चापाकल सुकेका हुन् ।’ उनका अनुसार चुरे क्षेत्रमा रहेका नदीमा क्रसर उद्योगले १० देखि १५ फिटभित्रसम्म खनेर गिट्टी ढुंगा निकाल्ने गरेका छन् । जसले गर्दा पुराना पानी रिचार्ज च्यानल बिग्रिन्छ, जमिनले पानी सोस्न सक्दैन, बगेर जान्छ । ‘विगतमा जंगल घना थिए । खोलामा प्रशस्त ढुंगा हुन्थे, जसले पानी रोक्थे । तर, अहिले खोला दोहनका कारण माथिबाट पानी तीव्र गतिमा बगेर आउँछ,’ उनले भने, ‘लामो समयदेखि वर्षा नभएका कारण पनि वीरगन्ज आसपासका जमिनमुनि पानीको रिचार्ज हुन नसकेर सतह तल गएको हो ।’

समाचार

सुक्खा क्षेत्र घोषणा गर्न माग

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सांसदहरूले मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेर पानीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानीको समस्या भएका ठाउँमा पानीको आपूर्ति सहज बनाउन माग गरे । ‘तराई साउने घामले रापिएको छ । देशभरि मनसुन त छ तर त्यहाँ पानी पर्दैन,’ यादवले भने, ‘घरअघि धसिएका चापाकलबाट पनि पानी निस्किन्न । कुनैबेला ५० देखि एक सय फिटमै पानीको मूल फाल्ने चापाकल अहिले ३ सय फिटसम्म गाडिन्छन् तर बाह्रैमास पानी तान्न सकिरहेको छैन ।’
समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई जानकारी गराएपछि मातहतका निकायलाई निर्देशन दिए पनि सम्बन्धित विभागले बजेट अभावले केही गर्न नसक्ने जवाफ दिने गरेको उनले बताए । ‘नगरपालिकाले वितरण गर्ने पानी थाप्न हानाथाप हुने गरेको छ,’ उनले भने, ‘सरकार निरीह छ । आकस्मिक कोषबाट भए पनि तराईमा पानीको समस्या समाधान गर्नुपर्छ ।’
राप्रपा सांसद बिना जैसवालले तराईमा दुई महिनादेखि पानीको हाहाकार भए पनि सरकारले वास्ता नगरेको गुनासो गरिन् । ‘अझै एक महिना समस्या भएमा जनताको अवस्था के हुन्छ ? पानी नपाएर छटपटाइरहेका छन्,’ उनले भनिन्, ‘केन्द्र र प्रदेश सरकारले बेवास्ता गरेका छन् ।’

समाचार

जथाभावी औषधि बिक्री

- कान्तिपुर संवाददाता


जुम्ला (कास)– सदरमुकाम खलंगामा खोलिएका अधिकांश मेडिकलहरू अवैध भएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सोमबार सदरमुकाम खलंगाका ८ वटा मेडिकलमा छापा हानेको थियो । ती मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइएको लगायतका कैफियत भेटिएका छन् ।
‘डाक्टरको सिफारिसबिनै जथाभावी औषधि वितरण गर्दा बिरामीको ज्यानै जान सक्ने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसैले कैफियत सुधार्न मेडिकलहरूलाई निर्देशन दिइएको छ ।’ सदरमुकाम खलंगामा रहेका कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको शिव मेडिकल हल, रावत मेडिकल हल, ओम मनीष पोलिक्लिनिक तथा रेफरल सेन्टर, चन्दननाथ औषधि पसल, बुढ्थापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक र रामारोशन दाँत उपचार केन्द्रको जिल्लास्तरीय टोलीले अनुगमन गरेको हो ।
दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिहरूसमेत बिक्री गर्ने गरेको स्थानीय कमला देवकोटाले बताइन् । उनका अनुसार सरकारी स्वास्थ्य संस्थामा सबैखाले औषधि नपाउँदा पनि अवैध मेडिकलको औषधिको भर पर्नुपरेको छ । ‘केही मेडिकलमा त अवैध गर्भपतनसमेत हुन्छ,’ उनले भनिन्, ‘जथाभावी औषधि सेवन गर्दा एउटा रोगको बिरामीलाई अर्को खालको स्वास्थ्य समस्या पनि देखिने जोखिम छ ।’ स्थानीय विक्रम न्यौपानेले पटकपटकको गुनासोपछि मात्र अनुगमन भएको बताए ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले औषधि पसलहरूको नियमित अनुगमन आवश्यक रहेको बताए । ‘सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अवैध औषधि पसल खोलेको भेटियो,’ उनले भने, ‘औषधि पसलहरूले गर्भपतन सेवादेखि खोप सेवासमेत अनुमतिबेगर चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत देखियो ।’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार सदरमुकाम खलंगामा झन्डै ३२ वटा मेडिकल सञ्चालनमा छन्, त्यसमध्ये १५ वटाले अनुमति लिएका छैनन् ।
कैफियत भेटिएका पसलमा निरन्तर निगरानी गरिने प्रजिअ घिमिरेकोभनाइ छ । एउटाको इजाजतपत्र लिएर अर्कोले चलाएको औषधि पसल बन्द गर्न जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई निर्देशन दिइएको उनले बताए ।

समाचार

‘नेपालको हवाई सुरक्षामा धेरै काम गर्न बाँकी छ’

- कान्तिपुर संवाददाता


नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत नोना डेप्रेज ३ वर्षे कार्यकाल पूरा गरेर फर्कंदै छिन् । नेपालमा कोभिड–१९ को लहर चलिरहादा युरोपबाट स्वास्थ्य सामग्री र खोप ल्याउन राजदूत डेप्रेजले विशेष पहल गरेकी थिइन् । नेपालको हवाई सुरक्षा, संक्रमणकालीन न्यायका बारेमा समेत नजिकबाट हेरिरहेकी ‘टिम युरोप’ की राजदूत डेप्रेजसाग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश ः

तपाईं नेपालमा आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी फर्कन लाग्नुभएको छ । नेपाल बसाइलाई कसरी हेर्नुहुन्छ ?
नेपालमा युरोपेली संघ (ईयू) लाई प्रतिनिधित्व गरेर आउन पाउनु मेरा लागि विशेष र गर्वको विषय हो । म एकदम चुनौतीपूर्ण घडीमा आइपुगेकी थिएँ । त्यो पहिलो र दोस्रो कोभिड–१९ संक्रमणको बीचमा थियो । त्यो समय पक्कै सहज थिएन । ईयू र यसअन्तर्गतका १४ मुलुकले नेपाललाई कोभिड–१९ को दौरान सुरुवातमा स्वास्थ्य सामग्री र पछि कोभिड–१९ खोपका लागि सहयोग गरे । हामीले कोभ्याक्समार्फत पनि खोप सहयोग गर्‍यौं । किनकि हामी सबैले समान रूपमा खोप पाउनुपर्छ भन्ने विश्वास गर्छौं । स्वास्थ्य सामग्री प्रयोगका विषयमा ईयूले नेपालका डाक्टर र नर्सहरूलाई प्रशिक्षण दियो । कोभिड संक्रमणकाल सकिएपछि हामीले कूटनीति, राजनीतिक, आर्थिक सम्बन्धहरूलाई अगाडि बढायौं । हामी (ईयू–नेपाल) धेरै मूल्य मान्यता साझा रूपमा आदानप्रदान गर्छौं । उदाहरणका लागि जलवायु परिवर्तन हो । ईयू सन् २०५० भित्रमा शून्य कार्बन बन्न चाहन्छ । नेपालले पनि सन् २०४० भित्रमा शून्य कार्बन बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । यो क्षेत्रमा हामी सँगै काम गर्न सक्छौं ।
मैले नेपालका विभिन्न स्थान घुम्ने मौका पाएँ । मुख्य गरी मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भ्रमण गरें । अन्य राजदूतहरूसँगै पनि स्थलगत भ्रमणमा गएँ । गत वर्ष हामीले सुदूरपश्चिम र यो वर्ष कर्णालीको स्थलगत यात्रा गर्‍यौं । यी स्थलगत भ्रमणहरू उत्साहपूर्ण रहे । यस क्रममा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा भेटवार्ता भयो । धेरै समुदायका मान्छेसँग संवाद गर्न पाइयो । यो वर्ष हामी दिपायलसम्म पुग्यौं । जहाँ हामीले सुशासनका लागि प्रादेशिक केन्द्र देख्यौं । विकट क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति जान्ने अवसर पायौं । त्यहाँ काम गर्न कति चुनौती छ भन्ने थाहा पायौं । नेपालका विभिन्न भागमा ट्रेकिङ पनि गरें । छोरा नेपाल आएका बेला मार्दी हिमाल पुगें । साथीहरूसँग अन्नपूर्ण सर्किट, माथिल्लो मुस्ताङलगायत स्थानमा पनि छोटो ट्रेकिङ गएँ । ती सबै क्षण निकै रोमाञ्चक रहे ।

तपाईं ईयू–नेपाल सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ र आगामी बाटो कस्तो देख्नुहुन्छ ?
मलाई लाग्छ, भूभागको दूरीका बाबजुद पनि ईयू र नेपाल निकै नजिक छन् । हामी छिमेकी होइनौं तर पनि नजिक छौं । अर्को वर्ष हामी ईयू–नेपाल कूटनीतिक सम्बन्धको ५० औं वर्ष मनाउने छौं । हामीबीच लामो विश्वसनीय सहकार्य छ, जहाँ हामीले धेरै मूल्य र मान्यताको साझेदारी गर्छौं । जलवायु परिवर्तन, नियममा आधारित बहुपक्षीय पद्धतिलगायत विषयमा हाम्रो समान मूल्य मान्यता छन् । साथै, दुई मुलुकबीचको संयन्त्रको औपचारिक संवाद हुन्छ, जुन परराष्ट्र सचिवस्तरीय हुन्छ । यसले वर्षभरि भएका बहुपक्षीय विषयमा छलफल गर्छ । यो संयन्त्रको निकै महत्त्व छ ।

एउटा जिम्मेवारी पूरा गरेर फर्कंदै गर्दा ईयू र नेपालबीचको सम्बन्धलाई थप बलियो बनाउन तपाईंको के कस्तो सल्लाह छ ?
यो प्रश्न मलाई मात्र होइन, नेपाली पक्षलाई पनि सोध्नुपर्छ । किनकि यो सम्बन्धलाई थप मजबुत बनाउने विषय दुवै पक्षसँग सम्बन्धित छ । मलाई लाग्छ, ईयू–नेपालको सम्बन्ध मजबुत छ । हामीले संयुक्त रूपमा अझै बढी काम गर्न सक्छौं । संयुक्त राष्ट्रसंघजस्ता संस्थामा मिलेर काम गर्न सक्छौं । अहिले नेपाल मानवअधिकार परिषद्को सदस्य पनि हो । हामीले त्यहाँ अझ राम्ररी काम गर्न सक्छौं । नेपालको एक विकास साझेदारका रूपमा पनि ईयूले नेपाललाई ‘ग्रिन, रिजिलिएन्ट, इन्क्लुसिभ’ विकास एजेन्डामा सहयोग गर्छ । नेपालको राजनीतिक नेतृत्वले संघ, प्रदेश, स्थानीय तहदेखि नागरिक समाजलगायत क्षेत्रमा उक्त एजेन्डा अघि बढाओस् भन्ने मलाई लाग्छ । व्यापारी, नागरिकलगायत सबैले यो क्षेत्रमा काम गर्नुपर्छ ।

हवाई सुरक्षाको कारण देखाउँदै झन्डै ९ वर्षदेखि नेपाली विमानलाई युरोपेली आकाशमा उड्नका लागि कालोसूचीमा राख्दै प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध कहिले हट्छ ?
यसलाई कालोसूचीमा राखेको भन्न मिल्दैन । यो पूर्ण रूपमा हवाई सुरक्षाको कुरा हो । हामीले हवाई सुरक्षाका विषयमा कुरा गरेका हौं । ईयूले लामो समयदेखि नेपालको नागरिक उड्डयन प्रणालीमा प्राविधिक सहयोग गर्दै आएका छौं । यसो गर्नुको कारण हवाई सुरक्षाका लागि नै हो । यो वर्षको जनवरीमा पोखरामा यती एयरलाइन्स दुर्घटना हुनुभन्दा पहिले नेपालमा ब्रसेल्स र ईयूको सदस्य मुलुकहरूबाट प्राविधिकहरू स्थलगत भ्रमणमा आउने तयारीमा थिए । तर, त्यस दुर्घटनाले गर्दा टोलीको नेपाल आउने कार्यक्रम सर्‍यो । नेपालको नागरिक उड्डयन प्राधिकरणले पहिले हवाई सुरक्षामा ध्यान दिनुपर्‍यो । नागरिक उड्डयन र हवाई सुरक्षामा प्रगति भएको छ । आशा गरौं, अर्को महिना हुने प्राविधिकहरूको स्थलगत भ्रमणले नेपालको हवाई सुरक्षाको बाटो खोल्नेछ । हवाई सुरक्षाको क्षेत्रमा केही राम्रो काम भए पनि अझै धेरै गर्न बाँकी छ ।

ईयूले नेपालको संक्रमणकालीन न्यायका बारेमा चासो दिइरहेको छ । यस विषयमा नेपालमा भइरहेको गतिविधिलाई लिएर तपाईंको धारणा के छ ?
नेपालीले नेतृत्व गरेको पीडित केन्द्रित संक्रमणकालीन न्यायलाई हामी साथ दिन्छौं । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक अहिले संसद्मा छ । म विश्वास गर्छु कि यसमा संसदीय समितिले छलफल गरेको छ । आशा गरौं, यो प्रक्रिया ठीकठाक र छिटो होस् ।

 

Page 6
समाचार

खासमा कति खर्चिएपछि सम्पन्न हुन्छ द्रुतमार्ग ?

नेपाली सेनाको आकारलाई लिएर फेरि एक पटक सार्वजनिक बहस चलिरहेको छ । लोकतान्त्रिक राज्यको सुरक्षा संयन्त्रको आकार, खर्च भार, व्यावसायिक दक्षताका विषयमा जिम्मेवार तर्क र प्रश्न हुनु अन्यथा होइन । तर, यो बहसले सेनालाई कमजोर बनाउँछ भन्ने तर्क सुनिन्छन् । नागरिक बहसले सेनाको साखलाई कमजोर बनाउँदैन, बरु आफ्नो मूल चरित्र र परिभाषाभन्दा बाहिरका काम गर्दा सेना कमजोर हुन्छ भन्ने मान्न सकिन्छ । यसको एउटा कठोर उदाहरण हो– काठमाडौं–निजगढ द्रुतमार्ग ।
पहिलो त, सेनालाई आफ्नो परिभाषित पेसागत दायित्वबाहेक यति ठूलो भूमिका सुम्पिनु सर्वथा आलोच्य विषय हो । यसमा सेनाको आफ्नै रुचि होला–नहोला, तर यो सरकारको कच्चापन भने अवश्य हो । त्यसमाथि, सेनाले जिम्मा लिएको यस आयोजनको निर्माण गति पनि अति सुस्त हुनु उत्तिकै दुर्भाग्यको विषय हो । यसबाट विकास–निर्माणकै लागि खडा भएका सरकारी संरचनालाई पन्छाएर सेनालाई आयोजना दिँदा गरिएको ‘नेपाली सेनाले दक्षताका साथ समयमै निर्माण सम्पन्न गर्छ’ भन्ने तर्क गलत साबित भएको छ । र, यस्ता कार्यमा नेपाली सेनाको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ । प्रकारान्तरले सेनाको व्यावसायिक साखमाथि पनि औंला ठडिएको छ ।
सेनाले २०७४ वैशाखमा चार वर्षभित्र बनाउने गरी यो आयोजना जिम्मा लिएको हो । तर, सुरुआती अवधि सकिएर अरू दुई वर्ष बितिसक्दा पनि जम्मा एकचौथाइ काम भएको छ । खर्च भने ५२ अर्ब ८९ करोड रुपैयाँ भैसकेको छ, जुन रकम सुरुआती लागत अनुमानको आधाभन्दा बढी हो । म्याद भने पछिल्लो पटक २०८१ मंसिरसम्म रहेकामा मन्त्रिपरिषद्ले पुनः बढाएर २०८३ चैतसम्म पुर्‍याइसकेको छ । यही रीतले काम भएमा बाटो भने कहिले बनिसक्छ, यकिन छैन ।
द्रुतमार्ग बनेमा निजगढ–काठमाडौं एक घण्टामा आउजाउ गर्न सकिनेछ । यसले तराई–पहाड सम्पर्क–सम्बन्धलाई मजबुत तुल्याउनेछ । पूर्वाधार विकासले यसै पनि थप आर्थिक गतिविधि बढाउनेछ । देशको मुख्य आयातद्वार वीरगन्ज र संघीय राजधानीलाई नजिक्याउने यस मार्गले काठमाडौंमा आयातित सामग्रीको मूल्य घटाउनेछ । अन्तर्राष्ट्रिय व्यापार पनि सहज हुनेछ । प्रारम्भिक प्रक्षेपण अनुसार दैनिक ५ हजार सवारी गुड्ने भनिएको यस मार्गका कारण इन्धन र सवारी मर्मतमा गरी वार्षिक २५ अर्ब रुपैयाँ बचत हुनेछ । यसरी यात्रादेखि सामान ढुवानीसम्म सहज हुने भनिए पनि कति समय र बजेट खर्च गरिसकेपछि यो सडक बनिसक्छ भन्ने टुंगो नलाग्दा यसको लाभ–लागत आकलनमा भने बडो अन्योल छ ।
निर्माण अवधि धकेलिएसँगै लागत मूल्य उकालिँदै छ । सुरुमा ९२ अर्ब लागत अनुमान थियो, पछि १ खर्ब १६ अर्ब पुर्‍याइयो । अहिले संशोधित अनुमान १ खर्ब ७५ अर्ब छ । यसलाई पनि बढाएर २ खर्ब १३ अर्ब रुपैयाँ बनाउने तयारी भैरहेको छ । निर्माण विलम्ब भई लागत अकासिँदा राष्ट्रिय गौरवको भनिएको यो आयोजनाले कतै ‘राष्ट्रिय खर्च आयोजना’ को रूप पो लिन्छ कि भन्ने संशय बढेको छ । कारण, यहाँ पैसाको लागत मात्र बढेको छैन, समयको पनि नाश गरिएको छ, जुन क्षति अपूरणीय छ ।
ढिला हुनुका अनेकन् कारण र बहाना छन् । सरकारबाट निर्माण जिम्मा लिएको नेपाली सेनाले सबै काम आफूले गर्दैन । उसले पुल, कल्भर्ट र छोटा–छोटा सुरुङमार्ग छुट्टाछुट्टै कम्पनीलाई ठेक्का दिने गरेको छ । यस क्रममा मुआब्जा वितरणकै उल्झन पनि सल्टिएको छैन । ६.५ किमि दूरी रहेको खोकना खण्डको ३७६ रोपनी जग्गाको विवाद टुंगिएकै छैन । अझ, ११ प्याकेजमध्ये चारवटाको ठेक्का व्यवस्थापनकै काम बाँकी नै छ । ७२.५ किमिमध्ये सुरु विन्दु खोकनापट्टिको २६.३८ किमि खण्डको ठेक्का व्यवस्थापन भएकै छैन ।
ठेक्का प्रक्रियालाई लिएर संसदीय समितिमा उजुरी परेका छन् । छैटौं प्याकेजमा चिनियाँ कम्पनीले ठेक्का पाएपछि भारतीय एक निर्माण कम्पनी मुद्दामामिलामै गएको छ ।
त्यसमाथि, सबै प्याकेजमा अहिलेसम्म चिनियाँ कम्पनीहरूले ठेक्का पाएपछि भारतले यही मार्गलाई असजिलो पार्न विस्फोटक पदार्थको कच्चा पदार्थमा झमेला उत्पन्न गरिरहेको देखिन्छ । यता, सेनाले पर्याप्त विस्फोटक पदार्थ उत्पादन गर्न सकेको छैन, कच्चा पदार्थ भारतबाटै ल्याउनुपर्ने अवस्था छ ।
अचम्म त, निकै अघि नै ठेक्का अवधि बढाउन हतारो देखाउने सरकारले समयमै काम सकाउन भने कुनै तदारुकता देखाएको छैन । निर्माण क्षेत्रको विवाद सल्टाउन आफैं अग्रसक्रिय हुनुपर्ने सरकारको यसतर्फ ठोस चासो देखिन्न । खोकना क्षेत्रमा रहेका समस्या समाधान गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले विवाद टुंग्याएर शीघ्र ‘साइट क्लियर’ गर्न अबेला भैसकेको छ । नाम मात्र गौरवको आयोजना राखेर हुँदैन, सरकारले आफैंले प्राथमिकतामा राखेर कार्यप्रगतिको रफ्तार बढाउन जरुरी छ ।
द्रुतमार्गमा ठेक्का प्रक्रियादेखि पारदर्शितासम्मका प्रश्न पनि त्यत्तिकै छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का व्यवस्थापनमा त्रुटि औंल्याउँदै आएको छ । संसदीय समितिहरूले पारदर्शिता खोज्ने गरेका छन् । यस्ता प्रश्नहरू उठिरहँदा राष्ट्रिय सेनाको व्यवस्थापकीय कौशलमा मात्रै होइन, पेसागत साखमै आँच आउने जोखिम छ । यस परियोजनामा अब सेनाको सम्पूर्ण प्रतिष्ठा दाउमा छ । यसर्थ पनि सेनाले, आफूमाथिको सरकारी र नागरिक भरोसालाई डगमगाउन दिनु हुँदैन । वर्तमान वेग बढाएर समयमै निर्माण सम्पन्न गर्न जोड दिनुपर्छ । भौतिक र आर्थिक प्रगतिका एकएक विवरण पारदर्शी तुल्याउनुपर्छ । सरकारले पनि हरेक प्याकेजको स्पष्ट समयरेखा मागी सेनालाई काम लगाउनुपर्छ, व्यवस्थापकीय पाटोमा आवश्यक सहयोग गर्नुपर्छ । अनावश्यक समय बढाउँदै लागत थपेर गरिब मुलुकका जनताले दुःखजिलो गरेर तिरेको करको दुरुपयोग हुन नदिन सबै पक्ष संवेदनशील बन्नैपर्छ ।

सम्पादकलाई चिठी

समयरेखामा वीर अस्पताल

वीरशमशेरले विक्रम संवत् १९४७ मा नागरिकका लागि स्वास्थ्य उपचारका लागि वीर अस्पताल आधुनिक चिकित्सा प्रणाली सञ्चालन गर्ने स्वास्थ्य संस्थाको रूपमा स्थापना गरेका हुन् । उनले १९४७ साउनमा रानीपोखरी (हाल राष्ट्रिय नाचघर भएको स्थानमा) राज पृथ्वी वीरविक्रम शाह र प्रधानमन्त्री वीरशमशेरको नामबाट ३० बेडको अस्पताल स्थापना गरिएको हो । उक्त अस्पताल स्थापना हुनुअघि उपचारका लागि भारतीय केन्द्रमा सानो अस्पताल थियो । त्यतिबेला थापाथली दरबारमा (आजको वैद्यखाना) सिंहदरबार वैद्यखाना थियो । स्थापनाकालमा भारतीय चिकित्सक गोपालचन्द्र गांगुली लगायतका स्वास्थ्यकर्मी झिकाएर अस्पताल सञ्चालन गरेको बुझिन्छ । विसं १९७८ मा सिद्धिमणि लगायतले चिकित्सा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले विशेषज्ञ स्वास्थ्य सेवा पाएका थिए । त्यतिबेला वेलायतको प्रभावी थियो । त्यसैले बेलायती शैलीमा वीर अस्पतालको नाममा अन्य स्थानमा पनि अस्पताल स्थापना गरेको देखिन्छ । वीरगन्ज, जलेश्वर, राजविराज (हनुमाननगर), नेपालगन्ज लगायतका स्थानमा अस्पताल स्थापना भएको उदाहरण रहेको छ । खोकनामा कुष्ठरोग केन्द्र स्थापना गरियो । वीरलाई हैजा अस्पतालबाट कालान्तरमा संक्रमण रोग अस्पतालको रूपमा स्थापना गरियो । १९४७ मै संक्रमण रोग र सरुवा रोग अस्पताललाई हालको टेकु ट्रपिकल बनाइयो । २००७ सालको परिवर्तनपछि शुक्रराज अस्पताललाई संक्रमण रोग अस्पताल बनाइयो । वीरशम्शेर आफैं रोगी थिए भनिन्छ । विसं १९५६ मा वीरशमशेरले रगत बान्ता गरेपछि भारतीय (कानाबाबा) जोगीले उपचार गरेको भनाइ रहेको छ ।

चन्द्रशमशेर क्षयरोगका बिरामी थिए भनिन्छ । उनको उपचारका लागि टोखामा क्षयरोग केन्द्र खोलिएको थियो । त्यस्तै १९६१ मा चन्द्रशमशेर सिकार खेल्न सिमरा गएका बेला बिरामी परेका थिए । उनलाई काठमाडौं झिकाएर भक्तपुरमा चन्द्रलोक अस्पताल स्थापना गरेर उपचार गरेको भनाइ रहेको छ । वीर अस्पताल सञ्चालनका लागि काठमाडौं उपत्यका र तराईका जिल्लामा धेरै जमिन छुट्याइएको थियो । जमिनमा खेती गर्ने र त्यसको आम्दानीबाट मुलुकभरका पाँचवटा क्षेत्रमा अस्पताल सञ्चालन गर्ने उद्देश्य राखिएको थियो । २०५३ सालमा उक्त जग्गा जमिन खोज्न ध्रुवलाल जोशीको संयोजनमा समिति पनि बनाइएको थियो । तर उक्त विषय हराएको छ । त्यसलाई खोज्न सके अहिले वीर अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठान सञ्चालनका लागि ठूलो सहयोग हुनेछ । त्यसको आम्दानीले बिरामीलाई निःशुल्क उचार गर्न सकिनेछ । अस्पताल वीरशमशेरको धरोहर भएकाले उनको सम्मानमा सालिक निर्माण गर्नुपर्छ । उनकै नाममा राष्ट्रिय स्वास्थ्य पुरस्कार स्थापन गर्नुपर्छ । अस्पताल २०६० देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सञ्चालनमा छ । अहिले अस्पतालमा ९ सय ५० बेड सञ्चालनमा रहेको छ । अव वीर अस्पताललाई यही अवस्थमा नराखी तपाई/हाम्रा छोराछोरीले एमडी र एमएसको यही पढ्न सक्ने व्यवस्था गर्नुपर्छ । वीर अस्पतालमा विभिन्न विषयका विशेषज्ञले काम गरेकै हुन्छन् । धेरै जनशक्तिले यो अस्पतालबाट तालिम प्राप्त गरेका छन् । वीरको चिकित्साशास्त्र प्रतिष्ठान स्वायत्त हुनुपर्छ । यो अस्पतालको सेवा मुलुकको अन्य क्षेत्रमा पनि लैजानुपर्छ । अहिले वीर अस्पताल र प्रतिष्ठान फरक–फरक ढंगले सञ्चालन भइरहेको छ । प्रतिष्ठनलाई सरकारले संरक्षण गर्नुपर्छ । वीर अस्पताललाई सरकारी चिकित्सकको कार्यथलो बनाउनुपर्छ । अस्पतालहरू मापदण्डमा चल्नुपर्छ ।
– पुष्करराज आचार्य, काठमाडौं

सम्पादकलाई चिठी

सार्वजनिक सवारी साधनमा संगीत प्रदूषण


कामविशेषले कतै जानुपर्‍यो भने सार्वजनिक गाडीबिना सम्भव छैन । सार्वजनिक गाडीबाटै हामी एक स्थानबाट अर्को स्थानमा जाने गर्दछौं । तर जब हामी गाडी चढेपछि गीतको चर्को आवाज सुन्नुपर्दछ । सानो स्वरले गीत बजाएकै पाइँदैन । गाडीचालकले यात्रुहरूलाई बेचैनी हुने गरी आफूलाई मन पर्ने गीत बजाएर गाडी चलाइरहेको पाइन्छ । गाडीचालकलाई गीत बजाउँदा अलि सानो स्वरमा बजाउन सम्झाउँदा केही मात्रामा सानो स्वर पारेको जस्तो गर्दछन् । फेरि एकैछिनमा ठूलो पार्छन् । कोही–कोही गाडीचालकहरू यो गीतको आवाज यस्तै हो, सानो पार्न मिल्दैन भनेर अडान लिन्छन् । गाडीमा यात्रा गर्दा चर्को आवाजसहितको गीत यात्रुहरूले सुन्नैपर्ने बाध्यता किन ? सार्वजनिक गाडीमा कोही उच्च रक्तचापका बिरामी र ज्येष्ठ नागरिक पनि चढेका हुन्छन् । उनीहरूलाई गीत सुन्ने रहर होला त ? आवश्यकता नै महासुस भएमा सानै स्वरमा सुन्न मिल्ने गरेर गीत बजाए हुन्थ्यो । गाडीचालकहरूले कति चर्को स्वरमा गीत बजाउने हो ? चालकले यात्रुहरूलाई बेचैनी हुन नदिने गरी गन्तव्यसम्म पुर्‍याउने विषयमा खासै चासो दिएको देखिँदैन । गाडी चढेका कतिपय यात्रुहरूलाई गाडीमा चढेपछि बजाइएको चर्को गीतको आवाज सुनेर दिक्क मान्छन् । गीत सुन्नेभन्दा पनि गन्तव्यमा छिटो पुग्ने उपाय अपनाउनु जरुरी भइसकेको छ । एक गाडीचालकको इच्छा या रहरका लागि गाडीमा यात्रा गर्ने सबै यात्रुहरूले चर्को स्वरमा बजाइएको गीत सुनिदिनुपर्ने अबरजस्ती परिस्थिति बन्ने गरेको छ । यसैले गाडीचालकहरूले यात्रुहरूलाई यात्रा गराउँदा सकेसम्म गाडीमा गीत नै नबजाउने गर्नु उचित हुन्छ । यसतर्फ गाडीचालकहरूको ध्यान गम्भीरतापूर्वक जानु आवश्यक छ ।
– बोधनाथ पौडेल, नयाँ बानेश्वर, काठमाडौं

सम्पादकलाई चिठी

पाठकको हक नखोसौं


बिहानै कान्तिपुर दैलोमा आइपुग्थ्यो । चियाको चुस्कीसँगै कान्तिपुर पढ्न पाउँदा आनन्द लाग्थ्यो । देश दुनियाँको खबर एक घण्टाभित्रै पढेर सकिन्थ्यो । कान्तिपुर पढ्न नपाउँदा चियामा चिनी नभएजस्तो लाग्थ्यो । यो नियमितता विगत चार दिनदेखि बिथोलिएको छ । कान्तिपुर नियमित पढ्ने पाठकहरूको नैसर्गिक अधिकार खोसिएको महसुस मैले गरेको छु । यसमा दोषी को ? के पाठकहरूको कुनै दोष छ ? छैन भने पत्रिका व्यवस्थापक र कर्मचारी तथा हकरहरूका बीचको लडाइँमा पाठकलाई मार पार्ने काम किन ? यसको जिम्मा कसले लिने ? आन्दोलन, हडताल वा सामूहिक सौदाबाजी गर्ने काम आफ्नो ठाउँमा ठीक होला तर दुई पक्षको झगडामा तेस्रो पक्ष (पाठक) लाई मार पार्ने काम कुनै हालतमा ठीक होइन । यसको विकल्प खोज्नुपर्छ । हडताल–आन्दोलनको तरिका अरू पनि हुन सक्छन । व्यवस्थापकको कार्यालय घेर्नु, श्रम मन्त्रालयमा डेलिगेसन जानु वा माइतीघरमा धर्ना बस्नु आदिइत्यादि । तर पाठकको घरमा पुग्ने पत्रिका रोक्नु वा नबाँड्नु उचित होइन । बरु बिहान–बिहान पत्रिका बाँडौं । दिउँसो–साँझ धर्ना–आन्दोलन गरौं । यसो गर्दा सर्प पनि मर्छ, लाठी पनि भाँचिँदैन । होइन भने यस्तै कार्य धेरै दिन भै कान्तिपुरबाट पाठकहरूको सम्बन्ध टुटेमा वा कान्तिपुरको सट्टा अर्को पत्रिकाको ग्राहक बन्ने सिलसिला सुरु हुन्छ । त्यसले कान्तिपुरको प्रकाशकलाई मात्र होइन कान्तिपुरको कर्मचारी पत्रकार हकर सबैलाई मार पर्नेछ । यसर्थ यसको विकल्प तुरुन्त खोजौं । यस्तो कार्य भविष्यमा अरू सञ्चारगृहहरूमा पनि नहोस् भन्नका लागि सम्बद्ध निकायहरूले विकल्प खोज्नतिर ध्यान दिऊ । आज कान्तिपुरमा देखिएको समस्या भोलि अन्यत्र पनि देखिन सक्छ । यसर्थ यसको दीर्घकालीन समाधानका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, सञ्चार मन्त्रालय, टेड युनियनहरूले सामूहिक रूपमा छलफल अघि बढाउनुपर्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

सम्पादकलाई चिठी

पीडितलाई राहत कहिले ?


सरकार अनुचित लेनदेनको कानुन समयमा नबनाउँदा पीडितहरू झन् पीडित बन्दै गएका छन् । देश विदेश घुमेर मैले यसो गरे, उसो गरे भनेर मिडियामा बोलेर अर्थ छैन । बरु गरिब चीत्कार सुन्नुपर्छ । मिटरब्याजीपीडितले न्यायका लागि आन्दोलन गरेको कति भयो ? न्याय माग्दा साहुहरूले उल्टो धम्काउने तर्साउने गरेको समाचार सुन्दा देशमा न्याय मरेकै हो त भन्ने लाग्छ । हामीले बेल्ने बेलामा लोकतान्त्रिक गणतन्त्र भन्ने तर निरंकुश शासन सत्ता चलाउने यस्ता नेताले देश बनाउँछु भन्दा बिश्वास कसरी गर्न सकिन्छ ? देश चलाउने शासक जनताको पक्षमा नभएपछि जनताले सास्ती पाउनु स्वाभाविक हो । यतिबेला यो देश हुने–खानेको मात्र हो भन्ने पर्न थालेको छ । सानालाई ऐन ठूलालाई चैन भएपछि यसो भन्नु गलत नहोला ।
सरकारले मिटरब्याजीको समस्या हल गर्न ल्याएको विधेयक झन् गरिबलाई मर्का पर्ने खालको छ भन्ने सुन्दा दुःख लाग्छ । वर्षौंदेखि पीडितले राहत नपाएर राज्यसँग गुहार माग्दा राज्य उदासीन किन ? दुई लाख ऋणको ३५ लाखसम्म फिर्ता गर्नुपर्दा ती गरिबको अवस्था के भयो होला । साहु जहिल्यै साहु, गरिब जहिल्यै गरिब । हिजो यही नीति चलेको थियो आज पनि त्यही चलेको छ । गरिबलाई लोकतान्त्रिक गणतन्त्र आएर फरक के भयो ? जवसम्म जनताको जीवनस्तरमा परिवर्तन आउँदैन तबसम्म राजनीतिक परिवर्तनको अर्थ छैन । तराईमा मिटरब्याजीको समस्या डरलाग्दो छ । जनताका लागि राजनीति गरेका तराईका नेताहरू नै मिटरब्याजीपीडितको पक्षमा देखिँदैनन् । अनि कहाँबाट जनताको हितमा विधेयक ल्याउँथे π जनता न्यायका लागि सडकमा कराएको महिनौं भइसक्दा पनि सरकारको आँखा खुलेको छैन । हरेक निर्वाचनमा जनताका लागि जे पनि गर्न तयार हुने नेताले निर्वाचन सकिएपछि जनता बिर्सने गरेका छन् । नेताको यही रबैयाले गर्दा जनताले विकल्प खोज्न थालेका हुन् । अझ तराईमा जनमुखी नेताको अभाव देखिएको छ । तराईको जनताको नाममा राजनीति गर्न राजधानीमा आलिसान महलमा बसेर भाषण दिने नेताले जनहितका लागि काम गर्नु पर्दैन ? नेता जनहितमा काम गर्ने मनस्थितिमा गरिबको आँसु पुछ्ने कोही भएनन् । जनता न्याय माग्छ तर सरकार निदाउँछ । मिटरब्याजीको विधेयक प्रतिनिधिसभाबाट पास गरे पनि जनहितमा छैन भन्दै राष्ट्रिय सभाले रोकेको छ ।
– पुरुषोत्तम घिमिरे, काठमाडौं

दृष्टिकोण

खेतीपातीको बास्ना

- कृष्णप्रसाद पौडेल


वर्षायाम सुरु भएसँगै मनमस्तिष्कमा खेतीको बास्ना हरहराउन थाल्छ । यो हाम्रो भूगोलको खानाको बन्दोबस्त गर्ने सबैभन्दा महत्त्वपूर्ण समय हो । यो मौसम सुरु भएसँगै आकाशमा मडारिने कालो मनसुनी बादल, सँगै चम्किने बिजुली र यसको केही बेरपछि कानको जाली नै
फुट्लाजस्तो गरी आउने आवाजले दिने खेतीको सन्देश सामाजिक उद्यमी किसानहरूले मात्र बुझ्न सक्छन् ।
वर्षाको पहिलो दर्कोसँगै बलेनीदेखि खहरे खोल्सा हुदै कुलापानीको बन्दोबस्तसम्मको रौनक यसको पहिलो बास्ना हो । भ्यागुताको
ट्यारट्यारसँगै गड्यौला र अन्य कीराफटेंग्रा बोकेका कमिलाको ताँती दुलहादुलही बोकेर फर्किंदै गरेको जन्तीजस्तै लाग्छ ।
कहिले घामपानी त कहिले सिमसिम त कहिले बिजुलीसँगै दर्कने पानी वर्षभरिको जीवन ऊर्जाको बन्दोबस्त गर्ने जीवनधारा हो ।
खेतमा लगाइएको मकै भाँच्ने, स्याखु ओढेर बीउ काढ्ने, बोक्ने र
रोप्ने खेतारीÙ छेउकुना मिलाउने बाउसेÙ जोत्ने गोरुसँगै छतरी ओढेर नारिएका हलीÙ छाता ओढेर टुक्रुक्क बसेका हजुरबा र नाति वा नातिनी बोकेर अर्थ्याउने हजुरआमा — सबै आफ्नै कर्ममा तल्लीन छन् यो बेला ।
हलोले उधिनेका गड्यौला र किथिर्को टिप्न भ्याई–नभ्याई गरिरहेका काग, डांग्रे र चिबेले खेतीमा छुट्टै बास्ना थपेका हुन्छन् । कुलोको पानीमा तरेली परेका भ्यागुताका फुलको लहरा, चेपागाँडाहरूको बथान र हिलो सम्याउँदा झारसँगै गुजुल्टो परेका गड्यौलाले खेतीको प्राकृतिक मर्मको बास्ना छरेका हुन्छन् । कामको चटारोकै बीचमा आउने पोलेको वा उसिनेको मकै, सेल रोटी र पुवाजस्ता खाजाको बास्ना सम्झिँदा मात्र पनि अहिले नै खाएझैं हुन्छ ।
वर्षायाममा खेतबारीमा आउने माटाको बास्ना बहुरूपी हुन्छ । खेतीका सारथि साना जीवसँगै बालीनालीलाई पोषण पुर्‍याउन हालिने तीतेपाती, असुरो, खिर्रोजस्ता औषधिजन्य वनस्पतिको बास्ना हरहराउँछ । झरीसँगै झ्याउँझ्याउँ गर्ने झ्याउँकिरी र रात छिप्पिएसँगैको जूनकिरी दिनभरिको थकाइ बिर्साउन पर्याप्त छन् ।
पहाडका बारीका सुर्कामा मकैभित्र रोपिने कोदो होस् या टारमा लगाइने मास वा तराईका फाँटको धान रोपाइँ या हिमाली भेगको कोदो र कागुनो, यी सबैको आआफ्नै बास्ना छ । खेतीका सारथि याक–चौंरी, गाई–भैंसी, गोरुगाडाको मात्र हैन, बर्सेनि गोठमा ब्याउने गाई–भैंसीको बिगौती, नौनी र कुराउनीको बास्नासमेत सबैतिर छ । पाडा, बाच्छा, पाठापाठी र बछेडाको बुर्कुसी सम्झेर आफैंमा नहराउने को होला ?
तर, खेतीपातीको यो बास्ना अब एकादेशको कथा भएको छ । प्रकृतिको रैथाने लय र बास्ना बिर्सेको खेतीकर्मले छाना, नाना र खानाको बन्दोबस्त बास्नाहीन मात्र बनाएको छैन, विकासे दुर्गन्धले खाद्यान्न खानसमेत अयोग्य बन्दै गएको छ । प्रदूषित वायु, पानी र माटाले जैविक विविधता विघटनसँगै जलवायुमा व्यापक फेरबदल आएको छ । पानी पर्ने मौसमी पात्रो फेरिएको छ । प्रचण्ड गर्मी छ, माटाको बास्ना आउने गरी पानी पर्न छोडेको छ । पहाडका मूलहरू सुकेका छन् । खहरे, खोला र इनारमा पानी हराउँदै गएको छ । मुहान सुकेसँगै कुलापानीको बन्दोबस्त गर्नै नपर्ने भएको छ ।
बलेनीको पानी र खहरेको गडगडाहटको अहिले कुनै बास्ना छैन । खहरेले बोकेर ल्याउने अम्ल, प्लास्टिक, गेगर र बालुवाले गर्दा माटो प्राणहीन भैरहेको छ । यसमा जीवनको कुनै बास्ना छैन । माटामा अम्ल र रसायनको दुर्गन्ध मात्र छ । खेतबारीमा न भ्यागुताको ट्यारट्यार छ न छ जूनकिरीको धिपधिप । अहिले गड्यौला र अन्य कीराफटेंग्राको बास्ना होइन, रसायन र विषादीको हस्को छ । ट्याक्टरले धूवाँको मुस्लो फाल्दै जोतेको खेतमा न कीरा खोज्ने चरा छन् न त छन् गाईगोरु र तिनको मलमूत्र ।
कहाँ गए गड्यौला, भ्यागुता र गाइने कीरा ? कहाँ गए कान्लाका माकुराका जालो र बारुला ? कहाँ हरायो रैथाने खाजाको बास्ना ? अहिले सबैतिर चाउचाउ र बिस्कुटजस्ता पत्रु खानाको राज छ । झ्याउँकिरी र जूनकिरीको बास्ना मोबाइलको ट्याइँट्याइँ र पिलिकपिलिकले खोसेको छ । अहिले रैथाने खाना र खाजा, मोही पार्ने ठेकी बसाउँदैन न त बसाउँछ रैथाने जाँडको घैंटो । पाडा, बाच्छा, पाठापाठी र बछेडाको बुर्कुसी हैन, टम र जेरीको लुकामारी हेरेर रमाउँछ हुर्किंदै गरेको पुस्ता । आँखै लोभ्याउने कर्‍याङकुरुङ र मलेवा, आकाशमा रूखै उडेझैं गरी उड्ने सुगा, र धानखेतभरि उडिरहने रंगीचंगी गाइनेकीरा कता गए होलान् ? अब यिनको बास्ना पाका मानिसको सम्झना र हजुरआमाका कथाहरूमा मात्र सीमित छ ।
अहिलेको असारको रौनक र रन्को एउटै छैन । यस वर्षको असार पन्ध्रको चटारो हाम्रो खानाको बन्दोबस्त गर्ने सामाजिक उद्यमी किसानहरूलाई मात्र भएन, दशकौंदेखि असारे विकासमा रमाएका
नेता, कार्यकर्ता र तिनका सहयोगी सबैले यो वर्ष पनि धुमधामसँग
धान दिवस मनाए । यिनको मात्र के कुरा, वरिष्ठ कर्मचारीदेखि कर्मकाण्डी किसान, खेती सपार्न भन्दै कुराको मात्र खेती गरेर
गुजारा चलाउने विकासे, सेल्फी र टिकटकमा रमाउने साना–ठूला कलाकार सबै हिलो खेलेर रौसिए । विडम्बना, खानाको बन्दोबस्तमा रातोदिन खट्ने किसानहरूले भने पर्याप्त पानी, उन्नत बीउ, मल र खेती लगाउन चाहिने श्रम र स्रोतको अभावको पिरलोमै असार पन्ध्रको दिन कटाए ।
यही मेसो पारेर मन्त्री र नेताहरूले किसानले सहजै मल, बीउ र सेवा पाउने बखान गरे । यिनै बखानका भर परेर किसानहरूले मल पाउने आशामा कृषि र सहकारी कार्यालय धाइरहे, तर रित्तो हात फर्किन बाध्य भए । अर्कातर्फ, बिचौलिया र दलालले मिलेमतोमा रातारात मलका मलका बोरा घिसारे र देशी–विदेशी कालो बजारमा बेच्नसमेत सफल भए । यो सबै थाहा पाएका तर गर्न केही नसक्ने निरीह जनप्रतिनिधि र कनिष्ठ कर्मचारीले किसानका गुनासा र खप्की सुन्दै लाज पचाए ।
यो तीतो यथार्थ देशैभरिका पत्रपत्रिका र घन्केका मोबाइल, रेडियो र टीभीमा छ्यापछ्याप्ती भए । खास गरी, असारमा धान रोप्ने बेला यस्ता समाचार बर्सेनि हेर्न र सुन्न पाइन्छन् । धान दिवसका यस्ता तामझामसँगै किसानहरू भने समयमा पानी नपरेर, मल र बीउ र खेतीपातीका लागि चाहिने अन्य स्रोत र साधन जुटाउन
नसकेर सधैं पिरोलिन बाध्य छन् । यो वर्षौंदेखि दोहोरिँदै आएको
नियति हो । विडम्बना, जतिजति क्यामरा र मोबाइल बोकेर तामझामसँग हिलोमा पस्ने जमात थपिँदै गएको छ, त्यतित्यति खेतीपाती छोड्ने र सहर हुँदै बिदेसिने क्रम निरन्तर बढिरहेको
छ । यस्तो साइनोको मुख्य जड भने निकम्मा र अक्षम नेतृत्वको राजनीतिक र स्थायी सरकारको अकर्मण्यता हो ।
यस्तो किन भयो ? यसले गर्दा भविष्यको खानाको बन्दोबस्त के हुन्छ ? हामी सबैको चासो छ । सबैलाई थाहा छ, आधुनिक र विकासे हुने होडसँगै अहिले खाना, खेतीपाती, आपसी लेनदेन, सहकारिता लगायत सामाजिक जीवन पद्धतिका सबै परम्परागत धरोहर भत्किएका छन् । सारांशमा, हामीले यस्तो बाटो किन समात्यौं भनेर बुझ्न महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘प्रश्नोत्तर’ कविताका यी दुई हरफको मर्म सम्झे पुग्छ—
के हो ठूलो जगत्मा ? पसिना विवेक
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।
देवकोटाले भनेको पसिना र विवेकको महत्त्व बिर्सेर चन्द्रमा छुने मात्र दिवास्वप्नसँगै खेतीपातीको बास्ना र यसका सारथिहरूको पनि रूपरंग फेरिएको छ ।
केही दशकअघिसम्म हाम्रो आफ्नै अजम्बरी खेतीपातीको प्रणाली थियो । पुर्खाको सम्झनास्वरूप यसको अब केही बास्ना मात्र बाँकी छ । खाना र खेतीपातीको उत्पादन र उपभोगमा रहेका समाज व्यवस्थाका विभेदपूर्ण पक्षलाइ हटाउँदै प्रकृतिसम्मत र विविधतापूर्ण यस्तो खेतीपाती संस्कृतिलाइ उन्नत बनाउनुको साटो विकासे खेती भित्र्याउने नाममा अरूकै नक्कल गर्ने सिको गरेसँगै यो प्रणाली भत्केको हो । यस्तो खेती प्रणालीको सबल पक्षलाई उन्नत बनाउने सोच पुगेको भए बहुसंख्यक किसान रहेको कृषिप्रधान देशले आयातित र विषाक्त खाना र खेतीपातीको यो दुर्दशा देख्नु र भोग्नुपर्ने थिएन ।
यसरी हेर्दा हाम्रो खेतीपाती उन्नत बनाउने कर्ममा ठूलै फेर परेको छ । आधुनिक विकास नेपाली समाजमा भित्रिएसँगै यी र यस्ता खेतीपातीको बास्ना र यिनका सबै सारथि हराएका हुन् । यस्तो बास्ना किन हरायो भनेर फर्केर हेर्ने र सम्भव सबै सच्याउने विवेक फर्किएन भने हाम्रो अकर्मण्यताले प्रकृतिमा आएको ठूलो उथलपुथलको आँधीबेहरी सम्हाल्न भावी पुस्तालाई ठूलो सकस हुने पुष्टि भैरहेको छ । फेरिएको प्रकृति, प्रविधि र प्रवृत्तिलाई आत्मसात् गर्दै प्रकृतिसम्मत खेतीपातीलाई उन्नत बनाउनुको विकल्प छैन । हामीले जति चाँडो यो कुरा आत्मसात् गरेर बाटो फेर्छौं, हाम्रो उन्नतिको ढोका उति छिटो खुल्छ । यसमा द्विविधा छैन ।
अन्त्यमा, खेतीपातीको बास्ना कति फर्काउन सकिएला ? यसै भन्न नसकिएला तर यस्तो बास्नाको मर्म बुझ्ने विवेक फर्काउन सकेनौं भने हाम्रो खेतीपातीले बिराएको बाटो फेला पार्न कठिन छ । यो कुरा आत्मसात् गर्न मानवसम्मत विवेक चाहिन्छ । यन्त्रमानवको मति र भौतिक विकासको गतिका भरमा मात्र समृद्धि र सुख फलाउने सपना बोकेको जमातलाई हाम्रो नियति सम्हाल्ने जिम्मा लगाएर यस्तो विवेकको मर्म कहिले र कसरी फर्केला खै ? तसर्थ आउनुहोस्, हाम्रो खेतीपातीको बास्ना फर्काउने आँट गरौं । केही फरक पर्छ कि ?

Page 7
दृष्टिकोण

बदलिँदो सुरक्षा चुनौती र सेना

- पीताम्बर भण्डारी


नेपालले भूराजनीति र भूरणनीतिक अवस्थितिका कारण आकलन गरिएभन्दा फरक ढङ्गबाट सुरक्षा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । बाह्य सुरक्षा खतरा भनेर चिनिने सीमापार र अन्तरदेशीय अपराध, सरकारमाथि पर्ने ससर्त दबाब र आतङ्कवाद,
वैदेशिक हस्तक्षेपको सैन्य पाटो लगायतका फरक खालका चुनौती पनि थपिएकै छन् । जाली नोटको कारोबार, सुन, तस्करी, वन्यजन्तुको अवैध ओसारपसार र मानव तस्करी नेपालले थप चनाखो हुनुपर्ने सुरक्षा चुनौती हुन् । राष्ट्रिय सुरक्षामाथि देखिएका यस्ता खतरालाई निस्तेज पार्न सुरक्षा निकाय र सरकारी निकायका संवैधानिक प्रावधानहरू प्रस्ट नै छन् । यद्यपि, कार्यान्वयनको पाटोमा यदाकदा प्रश्न नउठेका भने होइनन् ।
बाह्य सुरक्षा खतरासँग जुध्न द्विपक्षीय एवं बहुपक्षीय सञ्जालको निर्माण र त्यसको कार्यान्वयन सहजै गर्न सकिन्छ, तर आन्तरिक सुरक्षा खतराको प्रारूप र परिधि यति छिटो फेरिने गरेको छ, त्यससँग जुध्न विभिन्न निकायको समन्वयसमेत पर्याप्त देखिँदैन । सुरक्षा खतराको पहिचान र आकलन सुरक्षा निकायका सम्बन्धित एकाइको मात्र जिम्मेवारी हो भनेर पुग्दैन । सुरक्षा क्षेत्रलाई नेपालका सन्दर्भमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा मात्र सीमित गरी गरिने बहसले साँघुरो घेरामा सीमित गर्छ । संसद्, न्यायालय र न्याय प्रणाली, संसदीय समितिहरू, कारागार व्यवस्थापन र निजी सुरक्षा एवं पूर्वलडाकुहरूसमेत सुरक्षा क्षेत्रको व्यापकताभित्र पर्छन् । साना हतियारको अवैध ओसारपसार, नागरिकको तहमा बदलाको भावना, विपरीत राजनीतिक आस्थाका आधारमा हुने राजनीतिक हिंसामा बढोत्तरी, दण्डहीनता, सशस्त्र द्वन्द्वकालभन्दा पनि युद्ध समाप्ति घोषणापछिका अप्ठ्यारा जटिल सुरक्षा चुनौती हुन्, जुन नेपालमा जीवित नै देखिन्छन् । अर्कोतिर, राजनीतिक परिवर्तनपछि सत्तासँग जनताको बढ्दो आकाङ्क्षाको तहमा पुग्न सरकार असफल भएपछि उत्पन्न हुने सङ्कट पनि उत्तिकै जोखिमपूर्ण हुन्छ । नेपालका सन्दर्भमा जलवायु परिवर्तनले ल्याएको जटिल प्राकृतिक प्रकोप र साइबर अपराधको जालोजस्ता सुरक्षा चुनौतीसँग जुध्न विद्यमान निकायहरूको क्षमता अभिवृद्धि नगरी असम्भवप्रायः भइसकेको छ । यस्ता सबै खाले सुरक्षा चुनौतीसँग जुध्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग प्रत्यक्ष क्रियाशील हुन्छन् भने सेनालाई चाहिँ यस्ता पक्षले उत्पन्न गर्ने जटिलताको समाधान गर्न सरकारले परिचालन गर्ने गर्छ ।
नेपालमा अस्थिर राजनीतिलाई सदैव आन्तरिक सुरक्षा खतराको शीर्ष स्थानमा राखेर विश्लेषण गरिन्छ । शान्ति सम्झौतापछि राष्ट्रिय राजनीतिमा पहिचानवादी र क्षेत्रीय दलहरूको उपस्थितिले संसदीय राजनीतिमै हिस्सा ओगटिसकेको छ । सङ्घीय शासन प्रणाली अन्तर्गत स्रोतको बाँडफाँटलाई आधार मानेर सङ्घ, प्रदेश र स्थानीय तहबीच पनि विवादहरू देखिन थालेका छन् ।
नेपालका चारै सुरक्षा निकायका आ–आफ्नै संवैधानिक दायित्व, साङ्गठनिक संरचना र दैनिकी छन् । आन्तरिक सुरक्षा चुनौतीको सूचना सङ्कलन र त्यसको संवेदनशीलताको अध्ययनमा अनुसन्धान विभाग, शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरी एवं सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलका दैनिक कार्यहरू सम्बन्धित सङ्गठनका ऐनले नै निर्दिष्ट गरेका छन् । भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने संवैधानिक जिम्मेवारी पाएको नेपाली सेनालाई निर्वाचनका आन्तरिक सुरक्षा खतराका बेलासमेत सरकारले राष्ट्रपतिको स्वीकृतिबाट र अन्य अवस्थामा
सङ्कटकालीन प्रावधानको संवैधानिक अधिकार प्रयोगपछि मात्र परिचालित गर्ने विधि स्थापित छ । झट्ट हेर्दा, खुला सिमाना भएका कारण नेपालको सीमा क्षेत्रमा हुने घटनालाई लिएर किन सेना त्यहाँ पुग्दैन भन्ने भावनात्मक सन्देश फैलाउनुअघि सेनालाई त्यस्तो ठाउँमा परिचालन गर्न सरकारले आदेश र अनुमति दिएको छ कि छैन भन्ने हेक्का राख्नु जरुरी हुन्छ ।
नेपालमा जबदेखि द्वन्द्व समाधान र मध्यस्थतामार्फत राजनीतिक संस्कृतिको बनोट निर्माण भयो र राज्यव्यवस्थाका मूल चरित्रमा सङ्घीयता र समानुपातिक प्रतिनिधित्व थपियो, सुरक्षा संवेदनशीलता पनि थपियो नै । वर्षौंसम्म राज्यका निकायमा देखिएको सामाजिक एकाधिकारको प्रतिविम्ब तोडियो । यसले ल्याएको हलचललाई मत्थर पार्दै दिगो शान्ति र स्थायित्वको गोरेटो बनाउने क्रममा रहेको नेपाललाई सो मार्गचित्र कोर्नमा प्रभावकारी संयन्त्र संसद् नै हो ।
केही वर्षदेखि नेपालको संसद्मा जनप्रतिनिधिहरूबीच अविश्वास, आक्रोश, प्रक्रियागत अनभिज्ञता, प्रहारवादी सोच र ‘प्रिय’ बन्ने होडले प्रश्रय पाएको छ, जसका लागि बेलाबेला राष्ट्रिय हित र सुरक्षा संवेदशीलतामाथि पनि हलुका टिप्पणी हुने गरेका छन् । सुरक्षाको बृहत्तर क्षेत्रलाई स्वीकार नगरी केवल मुख्य सुरक्षा संयन्त्रका बारेमा मात्र बेमौसमी बहसले राष्ट्रिय हितको संरक्षण गर्दैन । बरु त्यसले त नचाहिँदो चासो र बहस उत्पन्न गर्छ । उच्चस्तरीय सुरक्षा अधिकृत र जनप्रतिनिधिबीच भएका भनिएका अनौपचारिक संवादलाई स्रोतका रूपमा संसद्मा प्रयोग गर्नु भनेको त झन् आन्तरिक कूटनीतिको अवहेलना र अविश्वासको वातावरण बनाउनु हो ।
संसद्मा शक्तिराष्ट्रहरूका रणनीतिक योजनाका बारेमा जनप्रतिनिधिहरूले राख्ने धारणामा समेत राष्ट्रिय हितका विषयहरू प्रत्यक्ष जोडिएका हुन्छन् । यतिसम्म कि, विकासका नमुनामा समेत अन्य देशको नाम नै लिएर अभिव्यक्तिहरू आउने गर्छन् । सार्वभौम संसद्मा बारम्बार अरू देशका सन्दर्भमा छलफल गर्नु भनेको आफ्नो अडान र हितभन्दा अरूका विषयमा बढी चासो राख्नु हो जसले गर्दा कूटनीति र विदेशनीति सन्तुलनका लागि अपरिहार्य मूल मुद्दा ओझेलमा पर्ने गर्छ ।
राष्ट्रिय हितको संवर्द्धन कुनै एउटा पक्षको अग्रसरताले मात्र हुँदैन । भौगोलिक अखण्डता र सम्प्रभुताको जगेर्ना गर्ने संवैधानिक अभिभारा बोकेको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका साथै राजनीतिक दल, नागरिक समाज, आम सञ्चार, नागरिक नै राष्ट्रिय हित जगेर्ना गर्ने रणनीतिक साझेदार हुन् । आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक अन्तर्गत सार्वजनिक खर्च कटौतीका सन्दर्भमा संसद्मा जनप्रतिनिधिहरूका केही अभिव्यक्तिले नेपालमा सुरक्षा निकायको संरचना र क्षमता सम्बन्धी प्रसङ्ग उठ्यो । खास गरी, सेनाको सङ्ख्या र सामर्थ्यको विषयमा उठाइएका सवालले यो तटस्थ र व्यावसायिक सङ्गठनलाई सार्वजनिक र राजनीतिक बहसमा तान्न खोजियो, जुन न सामयिक छ न त तार्किक नै । तर २०७९ का स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनपछिको राजनीतिक परिदृश्यका कारण नेपालमा सामाजिक सञ्जालमा आलोचित हुने भयले गर्दा यथार्थपरक विषयवस्तुमार्फत त्यस्ता अभिव्यक्तिहरूको खण्डन गर्न राजनीतिक दल, बुद्धिजीवी र नियामक निकायका अधिकारीहरूसमेत अनिच्छुक देखिन थालेका छन् । यसले राजनीतिक संस्कृतिमा अराजकता र सार्वजनिक संस्कृतिमा प्रोपगान्डाको चक्रव्यूह नै निर्माण गर्ने खतरा बढेको छ । त्योभन्दा पनि अप्ठेरो त यसले सार्वजनिक संस्थाको क्षयीकरणलाई प्रश्रय दिन थालेको छ जुन नेपालमा देखिएको जटिल सुरक्षा खतरा हो ।
सुरक्षा निकायका उच्चपदस्थ कर्मचारी एवं अन्य सुरक्षाकर्मीका गतिविधि, सैन्य रणनीति, योजना सार्वजनिक बहसको विषय नै हुनु हुँदैन भन्ने त होइन, तर विपद् व्यवस्थापन र संवैधानिक दायराभित्र बसेर राज्यको निर्देशन पालना गर्दै अघि बढ्ने निकायलाई आफ्नो स्वार्थका लागि बहसमा तान्नु भद्रगोल निम्त्याउन खोज्नु हो । जहाँ सेनाको सन्दर्भ आउँछ, त्यसमा झनै सेना–नागरिक सम्बन्धको सैद्धान्तिक विश्लेषण पनि आकर्षित हुन्छ । सेना सङ्ख्या होइन, मनोबल हो जुन सेनाको संरचना र परेडले मात्र निर्धारण गर्दैन । सेनालाई राष्ट्रको पहरेदार मान्दै गर्दा नियन्त्रणमुखी बन्दै जान्छ कि भन्ने शङ्का हुनु अस्वाभाविक होइन । त्यसैले सेनामाथि नागरिक नियन्त्रणको वस्तुपरक भाष्य निर्मित हुँदै गएको छ । दरबार र सेनाको सम्बन्ध गहिरो छ भनेर २०६२–६३ पछि राजनीतिक
दलहरूले सेनाको आधुनिकीकरण भन्नुको सट्टा ‘लोकतन्त्रीकरण’ शब्दको प्रयोग गरेर एक पटक राजनीतिक अपरिपक्वता देखाइसकेका थिए । कुन देशका लागि कति सेना चाहिन्छ भन्ने निर्क्योलका आधार तत्तत् समयका परिघटना,
प्रतिरक्षा, रणनीति र विदेशनीतिसँग पनि सम्बन्धित हुने कुरा हो न कि आन्तरिक सुरक्षा खतरा मात्र । सार्वजनिक खर्च व्यवस्थापन गर्न सेनाको सङ्ख्याका बारेमा छलफल गर्नुपर्ने तर्क दुनियाँमा सुनिँदैन ।
हरेक राष्ट्र–राज्यका लागि युद्ध एक अनिवार्य सम्भावना हो, चाहे त्यो आन्तरिक होस् या बाह्य । सङ्ग्रामशीलता (मिलिट्यान्सी)
र युद्धकला सैन्य तालिम मात्र नभएर सैन्य दृष्टिकोण पनि हो । सेनामाथि शङ्का त्यति बेला मात्र जायज हुन्छ, जति बेला सेना ‘शासनसत्ताभित्र’ बस्नभन्दा पनि ‘शासनसत्ता विशेषको’ बन्न थाल्छ । सेना भनेपछि कसैसँग लड्न सक्छ या सक्दैन भन्ने प्रश्न नै आउँदैन किनकि सेना भनेको ‘रक्षा’ पनि हो । संसारमा सामरिक दृष्टिले जति नै शक्तिशाली भए पनि एउटा देशले अर्को देशमाथि सैन्य शक्तिमार्फत मात्र सहज जित हासिल गर्ने सम्भावना देखिँदैन । अन्तर्राष्ट्रिय स्तरमा शक्ति सन्तुलनको अभ्यासमा आफ्नो सार्वभौमिकताको रक्षा गर्ने परिस्थितिमा नेपाल पुग्दैन भन्ने छैन । सेनालाई कठोर शक्ति (हार्ड पावर) का दृष्टिले हेर्ने परिदृश्यबीच शान्ति सेनामार्फत नेपालको सेनाले विश्वशान्तिमा पुर्‍याएको योगदानचाहिँ सेनाको विशेषतामा नेपालमा कठोर (हार्ड पावर) र नरम शक्ति (सफ्ट पावर) दुइटैको सम्मिश्रण देखिन्छ । यति हुँदाहुँदै पनि सेनालाई प्रश्न नै गर्न नपाइने भन्ने होइनÙ कुनै पनि देशको राष्ट्रिय सेना राजनीतितिर आकर्षित हुँदा र व्यावसायिकता गुमाउँदै जाँदा राजनीतिक शक्तिहरूले सुझबुझपूर्ण निर्णय लिन सक्छन् । त्यसका केही पूर्वचेतावनीका लक्षणहरू देखिन्छन् जुन नेपालमा तत्काल देखिएको छैन । सङ्ग्रामशीलता बन्दुकबाट मात्र जन्मिने होइन, त्यो सामाजिक र राजनीतिक प्रवृत्तिबाट समेत जन्मिन्छ । ‘पपुलिजम’ को अस्त्रले सङ्ग्रामशीलताको सोच जन्माउँदै जान्छ जुन संवेदनशील सुरक्षा चुनौती हो ।
‘रेजिम चेन्ज इन नेपाल ः पावर सेयरिङ एन्ड
एडप्ट्याबिलिटी’ विषयका विद्यावारिधि भण्डारी
त्रिवि द्वन्द्व शान्ति र विकास अध्ययन विभाग,
त्रिभुवन विश्वविद्यालयका संयोजक हुन् ।

दृष्टिकोण

ऋणमुक्त हुन बाँचुन्जेल सास्ती

- सीता घिमिरे

 

ध नुषाका भित्री गाउँका बासिन्दाहरूसँग दुई दिन कुराकानी गरिसकेपछि मलाई एउटा प्रश्नले लखेटिरहेको छ— परिवारलाई ऋणमुक्त बनाउन युवाले वैदेशिक रोजगारीमा गएर मर्नैपर्ने हो ? आइतीकुमारीका श्रीमान् गाउँघरमा कमाइ खाने उपाय नभएपछि दुई वर्षपहिले २ लाख ऋण काढेर कतार गएका थिए । त्यहाँ काम गर्ने अवस्था नभएपछि अनेक हन्डर खाँदै गएको तीन महिनापछि सास मात्र लिएर फर्किए । छ महिनाजति नेपालमै काम गर्ने कोसिस गरे, तर परिवार पाल्नै मुस्किल भयो कमाइले, ऋण तिर्ने कुरा त परै जाओस् । ब्याजको मिटर घुमिरह्यो, उनी आत्तिएर अर्को साहुसँग फेरि २ लाख ऋण लिएर साउदी गए ।
छ महिनासम्म त्यहाँ काम त गरे । तर न कामको ठेगान न तलबको ठेगान भयो । कमाएको पैसा घर पठाउनै सकेनन् । भन्ने गर्थे रे, ‘सप्लाई कम्पनीमा परियो कहिले धेरै दिनसम्म काम
हुँदैन । बल्ल एक–दुई दिन काममा लैजान्छ, त्यो पनि पैसा पाउनै गाह्रो ।’ हरेक महिना मर्दा उनी झस्कन्थे र फोनमा भन्थे, ‘यो महिना पनि ब्याज घटाउने पैसा पठाउन सकिनँ, त्यो पनि साँवामै गाभिने भयो ।’
यता आइतीकुमारीलाई महिनाको अन्त्यमा साहुको फोन आउँथ्यो र भन्थे, ‘थाहा छ हैन, तेरो ऋण बढेर कति पुग्यो भन्ने कुरा ? भन्दे तेरो लोग्नेलाई अर्काको पैसा लिएपछि बेलामा ब्याज तिर्नुपर्छ भनेर । यसरी अर्काको पैसा खाएर विदेशमा मोज गर्न पाइँदैन ।’
बोल्दाबोल्दै आइतीकुमारीको गला अवरुद्ध भयो, तैपनि भनिन्, ‘म साहुको ४ लाख ऋण अनि ब्याज सम्झेर छटपटाइरहेकी थिएँ, एक दिन बिहानै खबर आयो— श्रीमान्ले आत्महत्या गरे साउदीमै ।’ उनलाई यो कुरा पत्याउन गाह्रो भयो र धेरै दिनसम्म अर्धचेत अवस्थामा रहिन् । उनले देखेको अबको एउटै बाटो थियो— बच्चासहित आफू पनि आत्महत्या । उनको यो योजना सफल हुन नपाउँदै गाउँकै एक स्वयंसेवकले उनलाई जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोतकेन्द्रमा लगिदिए । त्यही केन्द्रको सहजीकरणमा एक महिनापछि उनका श्रीमान्को लास आयो । त्यसपछि केही दिनमै कल्याणकारी कोषबाट आर्थिक सहायताको रकम आयो र बालबच्चाको पढाइका लागि छात्रवृत्ति आउने कुरा पनि थाहा भयो । जीवन बिमाको रकम भने अलि गाह्रो र ढिलो गरी आयो । सुरुमा त उनीहरूले छोराछोरीको जीवन बिमा गरेपछि मात्र बाँकी रकम दिने कुरा गरेका थिए । यो सबै रकम पाउन्जेल आइतीकुमारीले श्रीमान् विदेश जाँदा लिएको ४ लाख ऋण ६ लाख भइसकेको रहेछ, त्यो तिरिन् । घरमा वृद्ध सासू, ससुरा र बालबालिकाको औषधि–उपचार र घर खर्चका लागि लिएको ऋण तिरिन् । बचेको पैसा बैंकमा जम्मा गरिन् । अब उनी ऋणमुक्त भएर दुई बालबालिका र सासू–ससुराका लागि जिउने अठोट गरेकी छन् ।
वैदेशिक रोजगार बोर्डले मृतकका परिवारलाई उपलब्ध गराएको सहायताका आधारमा विश्लेषण गर्दा, गत तीन वर्षमा ३ हजार ८ सय ४६ जनाको वैदेशिक रोजगारीमा रहेका बखत मृत्यु भएको पाइन्छ । यसरी मृत्यु हुने क्रम भने हरेक वर्ष बढ्दो छ । अंगभंग भई र अचेत अवस्थामा फर्कनेको संख्या पनि त्यत्तिकै ठूलो छ । फेरि, वैदेशिक रोजगार बोर्डबाट सहायता पाएकै आधारमा मृत्यु हुने युवायुवतीको संख्या निर्क्योल गरियो भने गलत हुन जान्छ । यो सहायता त केवल श्रम स्वीकृति लिएर गएका, श्रम अवधिभित्र मृत्यु भएका र कागजपत्रले मृत्यु प्रमाणित गर्न सकेका व्यक्तिका परिवारले मात्र पाउने हुन् । तसर्थ माथि भनिएका मृतकको संख्याको झन्डै आधाजसो मृतकका परिवारले कुनै सहायता प्राप्त गर्न सकेका छैनन् भन्दा अत्युक्ति हुँदैन ।
यस पालिको तराईका ग्रामीणको भेगको भेटघाट र छलफलका क्रममा आइतीकुमारीजस्ता अन्य छ आइतीकुमारीहरूका कथा र व्यथा पनि सुनियो । यी सबै कथाका मूलमर्म भने एकै खाले थिए— श्रीमान्को मृत्युपश्चात् लास झिकाउन र सहायता रकम प्राप्त गर्न कसै न कसैको सहयोग लिनैपरेको, लास झिकाउने क्रममा पनि एजेन्टले ठगेको, श्रीमान्को मृत्युको सहायता रकम लिएर दोस्रो विवाह गर्छन् भन्ने आशंकामा सबैजसोलाई हातमा रकम पर्न नदिन परिवार र छरछिमेकीले षड्यन्त्र गरेको र सधैं निगरानीमा राखेको, श्रीमान्को मृत्युपछि मात्र ऋणमुक्त भएको ।
स्वास्थ्य परीक्षणबाट निरोगी प्रमाणित भएका अनि परिवारका लागि सुन्दर सपना सजाएका लक्का जवानहरू विदेशी भूमिमा पुगेर किन मृत्युको मुखमा पुग्छन् ? बाँचेका परिवारका सदस्यहरूले यत्रो सामाजिक मूल्य किन चुकाइरहनुपरेको छ ? यस्तो परिवेशले नजानिँदो रूपमा राष्ट्रको भविष्य अनि अन्तर्राष्ट्रिय जगत्मा पाइआएको इज्जतमाथि नै प्रश्नचिह्न खडा हुँदैन र ? फेरि, मृत्युको कारण बुझ्न पटक–पटक नेपाली टोलीहरू गन्तव्य मुलुक नपुगेका पनि होइनन् । अब त बरु गन्तव्य मुलुकभन्दा देशकै कुनाकाप्चामा पो पुग्नुपर्ने देखिन्छ, जहाँ वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका ओठमुख सुकिरहेका छन्, ऋण अनि ब्याजको मिटर घुमिरहेको छ । वैदेशिक रोगजारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरूले वैदेशिक रोजगारका बारेमा सही सूचना तथा ज्ञान दिए अनि सीप–तालिम र अभिमुखीकरणको गुणस्तरमा सुनिश्चितता मात्रै गरिदिए पनि समस्या समाधानमा केही हदसम्म राहत मिल्ने थियो । सरकारले वैदेशिक रोजगारीका लागि सहजीकरण गर्ने कम्पनी तथा बिचौलियाहरूको नियमन प्रभावकारी रूपमा गर्न सकेमा धेरै नागरिकको ज्यान जोगिने, तिनका परिवारले जीवनभरि तनाव बोकेर बाँच्नुपर्ने अवस्थाको अन्त्य हुने तथा विप्रेषणमा पनि बढ्ने देखिन्छ ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको गन्तव्य मुलुकसँग गरिने द्विपक्षीय सम्झौता हो । एउटा सानो लेनदेनमा त सम्झौता हुन्छ भने लाखौंको संख्यामा आफ्ना नागरिक उनका काम गरिदिन पठाउँदा दुई मुलुकबीच सम्झौता त गर्नैपर्ने हो नि ! सयभन्दा बढी नै मुलुकमा काम गर्न जान
राज्यले नागरिकलाई श्रम स्वीकृति दिइरहेको अवस्थामा केवल दश मुलुकसँग मात्र सम्झौता भएको छ । यस्तो परिवेशमा आफ्ना नागरिकका अधिकारको सवालमा राज्यको आवाज पनि
झिनो हुन पुग्छ ।

दृष्टिकोण

मिटरब्याज विधेयकमाथि संशय

- राजेश विद्रोही

 

अभरमा परेका निमुखाहरूबाट सक्दो असुलीको प्रपञ्च हो— मिटरब्याज । विपन्नतामा भासिएका मानिसको चरम दोहनको अर्को नाम हो— मिटरब्याज । यो आर्थिक अपराधको चरम रूप हो । ऋणको कैयौं गुणा तिरिसकेर सर्वस्व गुमाउँदासम्म आसामी ऋणमुक्त हुँदैन । सुदखोरीको यो विकृत रूपबाट समाजलाई मुक्त गर्न सरकार कानुन निर्माणमा लागेको छ । तर, घरायसी र समाजभित्रका जायज र वैध लेनदेनको नाम लिएर साहुकार, सामन्त र तिनका रक्षकहरू मिटरब्याज सम्बन्धी कानुनलाई निस्तेज बनाउन दिलोज्यानले लागिपरेका छन् । उनीहरू यो कानुन समाज व्यवस्थाविपरीत भएको र यसले साहुकारहरू मारमा पर्ने बताउँदै छन्, समाजमा झन् द्वन्द्व निम्तिन सक्ने धम्की दिँदै छन् ।
नेपाली समाजमा, विशेष गरी तराई–मधेशमा पछिल्लो समय सतहमा देखिएको मिटरब्याजको समस्या कानुनको हो कि अपराधको, विवेक भएको जोकोहीले भन्न सक्छ । जुनसुकै आवरणमा किन नहोस्, अपराध गर्नेहरू दण्डित हुनैपर्छ । तर, यो मामिलामा राज्यले पछाडिबाट हात घुमाएर पीडितहरूकै नाकमुख बन्द गर्न खोज्दै छ । यतिसम्म कि, पीडितहरूलाई केन्द्रमा राखेर भएको बुँदागत सम्झौता पनि संशोधन गरी तोडमोड पारिएको छ । सरकारको दोहोरो चरित्रले पीडित झन् पीडित, पीडक झन् उग्र हुने खतरा उत्पन्न भएको छ । अभरमा पर्दा गर्जो टार्ने विकल्प नदिई मिटरब्याजको समस्या समाधान हुन सक्दैन, बरु नयाँ दुश्चक्रहरू सतहमा देखिँदै जानेछन् ।
कानुनको दुरुपयोग गरेर कसैको उठीबास लगाउनु अपराध हो र कानुनले त्यस्तै प्रवृत्तिलाई लगाम लगाउनुपर्छ । तर, प्रतिनिधिसभाले पारित गरेको मिटरब्याज सम्बन्धी विधेयकमा मिटरब्याजको हौवा पिटेर सबै आर्थिक लेनदेनलाई एउटै डालोमा हाल्ने काम भएको छ । विधेयक पीडितहरूको जत्तिकै पीडकहरूको पक्षमा पनि उभिएको छ । यो अवस्थामा वास्तविक पीडितले न्याय पाउन सक्दैन, पीडकले पीडा दिन छोड्दैन । यस्तो खिचडी विधेयकले कानुनी रूप पाएपछि पीडितले तत्काल मल्हमपट्टी त पाउलान्, तर दीर्घकालीन समाधान पाउन सक्दैनन् । दीर्घकालीन समाधान भनेको मिटरब्याजको निर्मूलीकरण हो । यसका लागि राज्यले सर्वसाधारणले यस्तो कारोबार गर्नै नपर्ने खालको वैकल्पिक व्यवस्था गर्नुपर्छ ।
विधेयकका प्रावधानले मिटरब्याजी समस्या समाधान त होइन बरु नागरिकबीच द्वन्द्व उत्पन्न गर्ने देखिन्छ । साहुकारहरूलाई थप निर्मम बन्न सक्छन् । आपत्कालीन अवस्थामा सर्वसाधारणले गर्जो टार्न पहिलेको भन्दा ठूलो जालझेलयुक्त कारोबारमा मन्जुर हुनुपर्नेछ । अन्यथा, जतिसुकै हारगुहार गरे पनि आपत्कालीन गर्जो टार्न तिनीहरूले सापटी पाउनेछैनन् । जुन समस्याका कारण मिटरब्याजको दुश्चक्र उत्पन्न भएको छ, समाधान त्यसकै खोज्ने हो । समाधानको विकल्प अभरमा परेका सर्वसाधारणका लागि सहज र सुलभ वित्तीय पहुँच मात्रै हुन सक्छ ।
सरकार नागरिकहरूका घरदैलामा नपुगेकै कारण साहु–महाजनको बोलवाला हुँदै आएको हो । आर्थिक लेनदेनको यो पुरानो प्रचलनमा समयसँगै न्यायोचित ब्याजदर स्थापित नभएको होइन । तर थोरैतिनो लेनदेनलाई सूत्र बनाएर निमुखा आसामी लुट्ने साहुकारहरूको धन्दा पछिल्लो समय बढी नै चल्न थाल्यो । साहुकारहरूले कानुनी छिद्र खोज्दै आपत्मा परेका निमुखाहरूको उठीबासै लगाउनेसम्मका हर्कत गर्न थाले । अहिलेको विधेयकले त्यसैमा रोक लगाउने भनिएको छ, तर वैकल्पिक व्यवस्था दिन चुकेको छ ।
भोलि आर्थिक आपत् पर्दा सर्वसाधारण कहाँ जाने ? जोसँग आफ्नो भन्ने केही छैन, धितो राख्न सक्ने हैसियत छैन, दैनिक ज्यालादारीमा जीवन चलेको छ, उनीहरू आर्थिक गर्जो टार्न अब कहाँ जाने ? त्यो व्यवस्था विधेयकमा कहाँ छ ? विधेयक यत्तिकै पारित भए सामाजिक सन्तुलन नै बिग्रिन सक्छ । एउटा संरचना भत्काउन अर्को संरचनाको तयारीबिना सम्भव हुँदैन । सरकारले कमजोरले जित्ने खालको कानुन ल्याउनुपर्छ । नामको मात्र कानुन ल्याएर हुँदैन ।
मिटरब्याजी समस्या बहुआयामिक छ । यो आजको समस्या होइन । यस कार्यमा समाजका मालिक मुखिया, सामन्त, जमिनदार तथा दलाल पुँजीपति वर्ग संलग्न हुँदै आएका छन्, जसको पहुँच गाउँदेखि सहर र सहरदेखि सरकारसम्म छ । सांसद, मन्त्री, जनप्रतिनिधि, शिक्षक र कर्मचारी लगायत पनि यसैमा रमाउँदै आएका छन्, जसको उपस्थिति कर्मचारीतन्त्रदेखि राजनीतिक दल र राजनीतिक दलदेखि अदालतसम्म छ । त्यसैले समस्या यहाँ मिटरब्याजको मात्र छैन, अपराधको छÙ समाधान पनि अपराधकै हुनुपर्छ । यसलाई वैधानिकता दिने काम राज्यले पनि गरेको छ, जसले गर्दा अदालत पुगेर पनि साहुकारहरूले पीडितहरूलाई उठीबास लगाउन सकेका हुन् । हरेक गाउँ, बस्ती र घरमा क्यान्सरजस्तै फैलिएको छ यो समस्या । सहरमा एक खालको छ, गाउँमा अर्को खालको तर समस्या सबैतिर छ । कानुन यत्तिकै बन्दैमा यो विकराल समस्याको अन्त्य हुन्छ भनेर कसैले नचिताए हुन्छ । कानुन कार्यान्वयनमा राज्य संयन्त्रहरूको लाचारी आम नागरिकबाट लुकेको छैन ।
राज्यले नागरिकको सिधै पहुँच हुने गरी वित्तीय सुविधा प्रवाह गर्न सकेको छैन, न त सरकारी मापदण्ड बमोजिम काम गर्दै आएका बिचौलिया व्यक्ति र संघसंस्थामाथि कुनै निगरानी गरेको छ । तिनीहरूले राज्यलाई नै चुनौती दिने काम गरिरहेका छन् । सबैभन्दा ठूलो सुदखोरी बैंक, सहकारी र लघुवित्तहरूले गरिरहेका छन् । तिनीहरूले अचाक्ली मुनाफाका लागि पीडितमाथि थप पीडा थप्ने काम गरिरहेका हुन्छन् । त्यही कारण अहिलेसम्म थुप्रैले आत्महत्याको बाटो नै रोजेका छन् । मिटरब्याजी साहुकारहरू त्यस्तै वित्तीय संस्थाहरूबाट प्रोत्साहित भएका हुन् ।
मिटरब्याजपीडितहरू संघर्षमा उत्रिएपछि सरकारले २४,००० उजुरी लियो, जसमध्ये १,३०० वटामा मिलापत्र भएको छ । थुप्रै पीडितको उठीबासको समस्याको समाधान भएको छ । हजारौं उजुरीमध्ये केही दर्जन त एउटै व्यक्तिमाथि परेका छन् । उजुरीबाटै साहुकारहरूको अवस्थालाई चित्रण गर्छ । सबैभन्दा बढी उजुरी तराई–मधेशका जिल्लाहरूका छन् । तराई–मधेशमा मधेशी नेता र दलहरूले मिटरब्याजी साहुकारहरूलाई संरक्षण दिने गरेका छन् । उनीहरूको जनाधार भनेका मिटरब्याजी सुदखोरहरू नै हुन् । त्यसैले सुदखोरी धन्दालाई सामाजिक प्रतिष्ठासँग जोड्छन्, पीडितका पक्षमा वकालत गर्दैनन् ।
विपन्नहरूले साहुकारहरूसँग मृत्यु भोज, स्वास्थ्य उपचार, दाइजो, छोराछोरीको पढाइ, वैदेशिक रोजगारी लगायतका लागि मिटरब्याजमा ऋण लिने गरेका छन् । त्यसैका आधारमा साहुकारहरूले उनीहरूलाई जीवनभर बन्धक बनाउने, उनीहरूको आदेश नमाने अनेक प्रताडना दिने गरिरहेका हुन्छन् । सरकारले उजुरी मागे पनि थुप्रै पीडितले आँट गर्न सकेका छैनन् । उनीहरूमा अझै पनि साहुकारको डर, त्रास, भय र आतंक छ । उनीहरूको समस्यालाई कसरी सम्बोधन गर्ने ? विधेयकमा वैकल्पिक व्यवस्था गरिएकै छैन ।

Page 8
परदेश

मोदीविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव

- कान्तिपुर संवाददाता

 

नयाँदिल्ली (एजेन्सी)– भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव परेको छ । बुधबार कंग्रेस र बीआरएस पार्टीले लोकसभामा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कंग्रेसका तर्फबाट लोकसभामा उक्त दलका उपनेता गौरव गोगोई र बीआरएसका तर्फबाट नमा नागेश्वर रावले प्रस्ताव पेस गरेका छन् । सभामुख ओम बिरलाले प्रस्तावलाई स्वीकार गरे पनि छलफलका लागि मिति तोकेका छैनन् । यसअघि सन् २०१८ मा पनि मोदी सरकारविरुद्ध अविश्वास प्रस्ताव परेको थियो ।
भारतमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत भएकाले यो प्रस्ताव पारित हुने सम्भावना छैन । तर, विपक्षी पार्टीले मणिपुर घटनामा सरकारलाई बोल्न बाध्य पार्ने उद्देश्यले यो प्रस्ताव ल्याएको बताएका छन् । भारतीय संसद्को नियमअनुसार अविश्वास प्रस्तावमा कारबाही सुरु गर्न सभामुखको अनुमति अनिवार्य हुन्छ । यदि सभामुखलाई प्रस्तावमा कुनै त्रुटि छ भन्ने लागेमा उनले संसद्मा रहेका सदस्यलाई प्रस्तावको समर्थनबारे धारणा लिन सक्नेछन् । कम्तीमा ५० सांसदले समर्थन दिएमा सभामुखले प्रस्ताव स्विकारेर कारबाही प्रक्रिया अघि बढाउनुपर्नेछ । त्यसपछि प्रस्तावमा चर्चाका लागि समय तय हुनेछ भने त्यसपछि मतदान गरिनेछ । प्रस्तावमा बहुमत आएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेछ ।
लोकसभामा हाल कंग्रेस एक्लैको ५० सिट छ । कंग्रेसले चाहेमा प्रस्तावले सभामुखको स्वीकृति प्राप्त गर्न सक्नेछ । सोही कारण कंग्रेसले लोकसभामा उपस्थितिका लागि आफ्ना सांसदलाई ह्वीप पनि जारी गरिसकेको छ । बीआरएससँग लोकसभामा ९ सांसद छन् । यसबाहेक अन्य विपक्षी पार्टीले पनि प्रस्तावमा समर्थन गर्ने अपेक्षा गरिएको छ । हालै मात्र कंग्रेसलगायत २६ दलहरू मिलेर ‘इन्डिया’ नामको विपक्षी गठबन्धन पनि बनेको थियो । उक्त गठबन्धनसँग करिब १५० सिट छ ।
तर, अविश्वास प्रस्ताव पारितका लागि उक्त संख्या पर्याप्त हुँदैन । विपक्षी नेताहरूले पनि यो प्रस्ताव पारितका लागि नभई मणिपुर प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनता तोड्नका लागि ल्याइएको बताएका छन् । भारतको मणिपुर राज्यमा गत मे ३ देखि जातीय हिंसा जारी छ । राज्यका दुई जाति मैतेई र कुकी समुदायबीच जनजाति अनुसूचीकरणको विषयमा हिंसा चर्किएको हो । बहुसंख्यक मैतेईलाई पनि जनजातिमा सूचीकृत गर्नका लागि अदालतले राज्य र केन्द्र सरकारलाई निर्देशन दिएपछि हिंसा सुरु भएको थियो । हालै मात्र मणिपुरमा अल्पसंख्यक कुकी समुदायका दुई महिलालाई मैतेई समुदायका व्यक्तिहरूले निःवस्त्र घुमाएको भिडियो सार्वजनिक भएको थियो ।
उक्त घटना मे ४ मै भए पनि हालै मात्र सार्वजनिक भएको हो । त्यसका कारण भारतभर आक्रोश फैलिएको थियो । प्रधानमन्त्री मोदीले पनि पहिलो पटक मणिपुर प्रकरणमा बोल्दै उक्त भिडियो सभ्य समाजका लागि लज्जाको विषय भएको प्रतिक्रिया दिएका थिए । तर, विपक्षी दल कंग्रेसलगायतले भने प्रधानमन्त्री मोदीको बेवास्ताका कारण मणिपुरमा हिंसा फैलिएको आरोप लगाउँदै आएको छ । अहिले अविश्वास प्रस्ताव पनि त्यही सेरोफेरोमा आएको हो । प्रधानमन्त्री मोदीले संसद्मा मणिपुर प्रकरणमा बोल्नुपर्ने माग विपक्षीले गर्दै आएका छन् ।
अर्कोतर्फ, हालै बनेको विपक्षी दलको गठबन्धन इन्डिया र सत्ता गठबन्धन एनडीएबीचको पहिलो लडाइँका रूपमा अविश्वास प्रस्तावलाई हेरिएको छ । अविश्वास प्रस्तावले संसद्मा विपक्षी गठबन्धन इन्डियाको बलियो उपस्थितिको पनि परीक्षा हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ । सन् २०१८ मा ल्याइएको अविश्वास प्रस्तावमा मोदी सरकारको पक्षमा ३ सय २५ र विपक्षमा १ सय २६ मत परेको थियो । भारतीय संसद्को इतिहासमा यसअघि २७ पटक अविश्वास प्रस्ताव परिसकेको छ ।

परदेश

छोरालाई सत्ता सुम्पिने कम्बोडियाका प्रधानमन्त्रीको घोषणा

- कान्तिपुर संवाददाता


कम्बोडिया (एजेन्सी)– कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना छोरालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । लामो समयसम्म सत्तामा रहने विश्वका नेताहरूमध्येका एक सेनले राजीनामा दिने र आगामी अगस्टमा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री सेनको यो अप्रत्याशित घोषणा कम्बोडियामा चुनाव भएको ३ दिनपछि आएको हो । यही जुलाई २३ मा भएको संसदीय चुनावमा उनको दल कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२५ मध्ये १२० सिट जितेको दाबी गरेको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम घोषणा आगामी अगस्ट ९ मा गर्ने भएको छ ।
सेनले सन् १९८५ यता करिब ४ दशक कम्बोडियामा शासन गरे । उनीमाथि आफ्ना विरोधीलाई दमन गरेको, प्रतिस्पर्धी विपक्षी पार्टी सीएनआरपीलाई भंग गर्न र त्यसका नेताहरूलाई जेल हाल्न अदालतको प्रयोग गरेको, अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप र स्वतन्त्र सञ्चारमाध्यमलाई बन्द गराएको आरोप छ । चुनावको आधिकारिक परिणाम सार्वजनिक भएपछि सेन नै फेरि प्रधानमन्त्री बन्ने अड्कलबाजी गरिएको थियो । त्यसविपरीत सेनले अगस्ट १० मा आफ्नो छोरा प्रधानमन्त्री बन्ने घोषणा गरेका हुन् । राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै उनले अब पनि पदमा रहिरहे अस्थिरताको खतरा हुन सक्ने बताए । यद्यपि, उनी सीपीपी प्रमुख भने रहनेछन् । गत बुधबार उनी आफ्नो उत्तराधिकारी घोषणाका लागि सल्लाह गर्न कम्बोडियाका राजालाई भेट्न गएको राष्ट्रिय टेलिभिजनले देखाएको थियो ।
अब कम्बोडियाको प्रधानमन्त्री सेनका जेठा छोरा हुन मानेत बन्ने भएका छन् । हाल कम्बोडियन सेनाका कमान्डर छन् । देशको नेतृत्वका लागि उनलाई लामो समयदेखि तयार पारिएको थियो । ४५ वर्षीय मानेतले हालैको निर्वाचनमा सीपीपीको प्रमुख प्रचारकको भूमिका निर्वाह गरेका थिए । कम्बोडियामा यस पटकको निर्वाचनमा १८ दलले प्रतिस्पर्धा गरेका थिए । यहाँ प्रत्येक ५ वर्षमा निर्वाचन हुँदै आए पनि लामो समयदेखि सेनको पार्टी सीपीपीले नै निर्वाचन जित्दै आएको छ । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले सबै १२५ सिट जितेको थियो ।

परदेश

छोटकरी

- कान्तिपुर संवाददाता


रुसी रक्षामन्त्री उत्तर कोरियामा
सोल (एजेन्सी)– रुसी रक्षामन्त्री सर्गेई सोइगु नेतृत्वको टोली उत्तर कोरियाको भ्रमणमा पुगेको छ । कोरियाली युद्ध अन्त्य भएको ७० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा रुसी अधिकारी सहभागी हुनेछन् । बुधबार चिनियाँ टोली पनि उक्त कार्यक्रममा सहभागी हुन उत्तर कोरिया पुगेको छ । कोभिड महामारीका कारण उत्तर कोरियाले सन् २०२० मा सीमा क्षेत्र तथा सामान निर्यातमा कडाइ गरेको थियो । रक्षामन्त्री सोइगु त्यसयता उत्तरकोरिया भ्रमण गर्ने पहिलो विदेशी नेता बनेका छन् । रक्षामन्त्री नै भ्रमणमा जानुले रुसले उत्तर कोरियालाई महत्त्व दिएको बुझिने बीबीसीले जनाएको छ । रुसले पछिल्लो समय युक्रेनसँगको युद्धका लागि हतियार तथा गोलाबारुद उत्तर कोरियाबाट खरिद गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चामल निर्यातमा प्रतिबन्ध हटाउन भारतलाई आग्रह
नयाँदिल्ली (रासस/सिन्ह्वा)– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आईएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले गत मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक कार्यक्रममा भने, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ ।’ आईएमएफले यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

Page 9
अर्थ वाणिज्य

विद्युत् आयोजनामा भारतले दिन थाल्यो विस्फोटक पदार्थको अनुमति

- कमल धिताल

(काठमाडौं)
भारतले करिब ६ महिनादेखि ठप्प पारेको विस्फोटक पदार्थको आयात अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन थालेको छ । भारतले अघोषित रुपमा रोकेको एनओसी नेपाली लगानीका आयोजना दिन थालेको हो । करिब ६ महिनादेखि नेपाली लगानीको आयोजनामा समेत एनओसी नदिएको भारतले पछिल्लो साता ५ आयोजनाको एनओसी जारी गरेको छ । लाङटाङ खोला, तल्लो सोलु, सेती खोला, जगदुल्ला, लिपिङ खोलाका लागि चाहिने विस्फोटक पदार्थको एनओसी जारी गरेको छ ।
२२ मेगावाट क्षमताको सेती खोला, २० मेगावाट क्षमताको लाङटाङ खोला, ८२ मेगावाटको तल्लो सोलु, १०६ मेगावाटको जगदुल्ला, १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाका लागि एनओसी जारी गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का सदस्य भरत पराजुलीले जानकारी दिए । ‘भारतले ठप्प पारेको एनओसी नेपाली लगानीको आयोजनालाई दिन सुरु गरेको छ,’ उनी भन्छन, ‘दूतावासले बोलाएर नेपाली लगानीका आयोजनालाई विवरण हेर्दै एनओसी दिएको छ ।’ दूतावासमा कुरा गर्दा नेपाली आयोजनाको लागि मगाएको विस्फोटक अन्य देशका आयोजनाले पनि प्रयोग गर्न सक्ने भन्ने भारतको चासो रहेको आफूले पाएको पराजुलीले जनाए ।
‘भारतको मुख्य चासो भनेको नेपाली आयोजनाका लागि ल्याएको विस्फोटक पदार्थ अन्य देशका आयोजनाले प्रयोग नगरून् भन्ने देखियो,’ इपान सदस्य पराजुली भन्छन्, ‘हामीले दूतावासमा राम्रोसँग कुरा राखेपछि नेपाली लगानीको आयोजनाका लागि नरोक्ने जनाए ।’ सरकारले सर–सापटी खोलेपछि भारतले त्यसमा चासो देखाएर एनओसी ठप्प पारेको थियो । विशेषतः चिनियाँ आयोजनाका लागि विस्फोटक पदार्थ जानसक्ने भन्दै भारतले विस्फोटक पदार्थको एनओसी दिन ठप्प पारेको थियो । लाङटाङ खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कृष्णप्रसाद आचार्यले पनि आफ्नो आयोजनाले एनओसी पाएको जनाए । ‘आयोजनाले एनओसी पाएको भन्ने खबर फोनबाट पाएँ,’ उनले भने, ‘बाहिर रहेकाले थप जानकारी पाएको छैन ।’
पछिल्लो समय नेपाली लगानीका आयोजनामा भारतीय दूतावासले एनओसीमा लचकता देखाएको इपान महासचिव बलराम खतिवडाले जनाए । ‘केही दिनदेखि भारतले स्वदेशी आयोजनाका लागि एनओसी जारी गरेको छ’ उनले भने । सडक तथा जलविद्युत् आयोजनाका लागि नेपाललाई आवश्यक पर्ने विस्फोटक पदार्थ आयातमा व्यवधान गरेको भारतले नेपालमा सञ्चालित आयोजनाबीच सापटी लिनदिनसमेत पाउने गरी कार्यविधि बनाएपछि पत्र पठाएरै सो कार्य रोक्न लगाएको थियो । भारतले जेठ तेस्रो साता सरकारलाई पठाएको पत्रमा आफ्नो देशबाट पैठारी हुने विस्फोटक पदार्थ जुन आयोजनाका लागि माग गरिएको थियो, त्यसबाहेकमा प्रयोग गर्न नपाउने सर्त राखिएको छ ।
विस्फोटक पदार्थ आयातमा भारतले पटक–पटक व्यवधान खडा गरेपछि मन्त्रिपरिषद्ले गत वैशाख २६ मा विस्फोटक पदार्थ नियम–२०२० संशोधन गरी नेपालमा सञ्चालित अर्को परियोजनाबाट ‘सापटी लिएर पनि काम चलाउन सकिने’ व्यवस्था गरेको थियो । संशोधित नियम राजपत्रमा प्रकाशित भइसकेपछि पर्याप्त विस्फोटक पदार्थ रहेका आयोजनाबाट सापटीमा काम चलाउने प्रयास गरिएको थियो । त्यसमा आपत्ति जनाउँदै भारतले पत्राचार गरेपछि कार्याविधिसमेत कार्यान्वयन भएको थिएन ।
मध्य जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको बेला भारतबाट नेपाल सरकारलाई विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा पत्र आएको थियो । उक्त पत्रमा भारतले ‘अन्तर्राष्ट्रिय कानुन र प्रचलनअनुसार विस्फोटक पदार्थ प्रयोग हुनुपर्ने’ भन्दै सहज आयातमा व्यवधान गर्न खोजेको छ । पत्रमा भारतले कुनै पनि आयोजना वा प्रयोजनका लागि विस्फोटक पदार्थ लिनुपर्दा सुरुवातमै इन्ड युजर सर्टिफिकेट (अन्तिम प्रयोगकर्ताको टुंगोसहितको प्रमाणपत्र) लिनुपर्ने उल्लेख छ । पत्रमा उल्लेख भएअनुसार सर्त मान्ने हो भने विस्फोटक पदार्थ अन्य प्रयोजन वा आयोजनामा काम गर्न समेत नमिल्ने सरकारी अधिकारीहरू बताउँछन् ।
भारतले नदिएपछि जलविद्युत् प्रवर्द्धक विस्फोटक पदार्थ लिन चीन गएका थिए । भारतको निरन्तर अवरोध भएपछि लगानीकर्ता विकल्पको रूपमा चीनबाट विस्फोटक पदार्थ मगाएका थिए । तर, सरकारले सर–सापटी कार्यविधि कार्यान्वयन नगरेपछि रसुवा भन्सारमा अलपत्र छ ।
चीनबाट विस्फोटक पदार्थ मगाउँदा भारतको तुलनामा १०.५ प्रतिशत थप कर तिर्नुपर्छ । दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) सम्झौताका कारण भारतबाट विस्फोटक पदार्थ आयात गर्दा सरकारले छुट दिन्छ । भारतबाट आयातमा ९.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट गरी २२.५ प्रतिशत मात्रै कर लाग्छ । चीनबाट आयात गर्दा भने २० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट गरी कुल ३३ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । चीनबाट ल्याउँदा नेपाली सीमासम्म थप सुरक्षा शुल्क तिर्नुपर्छ । भारतले नेपाली सेनाद्वारा सञ्चालित इमल्सन प्लान्टका लागि चाहिने कच्चा पदार्थमा पनि बारम्बार अवरोध गर्दै आएको छ ।
भारतीय लगानी र निर्माण कम्पनीमार्फत सञ्चालित जलविद्युत्का लागि भने विस्फोटक पदार्थ आयातमा अवरोध छैन । नेपालका ४ हजार ६ सय ३९ मेगावाटका सातवटा जलविद्युत् आयोजनामा भारतीय लगानी छ  । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगमको लगानीमा निर्माणाधीन छ । ४ सय ९० मेगावाटको अरुण चौथो, ६ सय ६९ मेगावाटको तल्लो अरुण, ७ सय ५० मेगावाटको पश्चिम सेती, ४ सय ८० मेगावाटको फुकोट कर्णाली, ९ सय मेगावाटको माथिल्लो कर्णाली र ४ सय ५० मेगावाटको सेती नदी–६ को ठेक्का पनि भारतीय कम्पनीले पाएका छन् ।
मागेजति कच्चा पदार्थ आयात नहुँदा सेनाका विभिन्न प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुन नपाएको सेनाको भनाइ छ । कच्चा पदार्थको कमी भएपछि नेपाली सेनाको इमल्सन प्लान्ट अत्यावश्यक अवस्थामा मात्रै सञ्चालन हुने गरेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारी बताउँछन् । ‘फुलस्टप लगाएर बन्द भएको हैन । अत्यावश्यक परेको अवस्थालाई पुग्ने कच्चा पदार्थ छ । प्लान्टको क्षमताअनुसारको उत्पादन भने हुन सकेको छैन । तर, जलविद्युत् उत्पादकहरूको माग धान्न सकिएको छैन,’ उनले भने ।
नेपालमा सरदर ५ हजार मेट्रिक टन विस्फोटक पदार्थ चाहिनेमा सेनाका इमल्सन प्लान्टबाट ३ हजार मेट्रिक टनभन्दा बढी उत्पादन गर्न सकिने आकलन छ । तर कच्चा पदार्थ पर्याप्त नहुादा ती प्लान्ट पूर्ण क्षमतामा चल्न पाएका छैनन् । डबलबेस प्रोपेलेन्ट प्लान्ट, अटोमेटिक कार्टिजिङ एन्ड फिलिङ मेसिनलगायत उपकरण पूर्ण क्षमतामा सञ्चालन गर्न सके ६ गुणासम्म उत्पादन बढ्न सक्छ ।

अर्थ वाणिज्य

अन्तरदेशीय रेलमार्गको काम दशकदेखि अलपत्र

- विमल खतिवडा

 (काठमाडौं)
नेपाल–भारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि समझदारी भएको १३ वर्ष बित्दा पनि तीन वटा नाकामा निर्माणको अझै कुनै सुरसार छैन । अहिलेसम्म विस्तृत अध्ययनको कामसमेत थालिएको छैन । निर्माण थालेको मोरङको कटहरी–बथनाहा रेलमार्ग पनि अझै पूरा हुन सकेको छैन । १८.६ किलोमिटरमध्ये ७ किमि खण्डको मात्र निर्माण पूरा भएको छ । १२ वर्षअघि निर्माण थालिएको उक्त रेलमार्गको कटहरी खण्डमा स्थानीयले मुआब्जाको कुरा उठाउँदै काम गर्न नदिएपछि आयोजना सम्पन्न हुन नसकेको रेल विभागले जनाएको छ । जसले गर्दा अन्य तीन वटा नाकामा तत्काल काम अघि बढाइहाल्न भारत तयार नदेखिएको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।
‘कटहरी खण्डको १.२ किमि खण्डमा स्थानीयका कारण वर्षौंदेखि काम अघि बढ्न सकेको छैन,’ महानिर्देशक बिसुरालले भने, ‘जसको प्रभाव अन्य नाकामा पनि परेको छ ।’ अन्य तीन वटा नाका ४६ किमि दूरीको काँकडभिट्टा–न्यु जलपाइगुडी, १५ किमिको भैरहवा–नौतनवा र १२ किमि दूरीको नेपालगन्ज– नेपालगन्जरोडको काम अघि नबढेको हो । उक्त खण्डमा रेल निर्माणका लागि प्रारम्भिक अध्ययनको काम मात्र भएको छ । अन्य थप प्रगति केही नभएको महानिर्देशक बिसुरालले जनाए । नेपाल र भारत सरकारबीच सन् २०१० मा पाँच नाकामा रेलवे पूर्वाधार निर्माण गर्ने भन्दै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
सबै नाकामा भारतको अनुदानमा रेल पूर्वाधार निर्माण गरिने समझदारी पत्रमा उल्लेख छ । त्यहीअनुसार कटहरी–बथनाहा र जयनगर–बिजलपुरा खण्डको निर्माण गरिएको हो । भारतको सरकारी कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले निर्माणको काम गरिरहेको छ । भारत सरकारले डिजाइन तयार गरिसकेपछि आवश्यक जग्गा रेलमार्ग निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउनुपर्छ ।
रेल निर्माणका लागि आवश्यक पर्ने जग्गा नेपाल सरकारले उपलब्ध गराएपछि पूर्वाधार निर्माणको काम भारतले गर्ने रेल विभागले जनाएको छ । चार वटा नाकामा कार्गो रेल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न लागिएको हो । जयनगर–जनकपुर–बिजलपुरा खण्डमा सञ्चालनमा आएको ५२ किमि दूरीमा चल्ने रेल भने यात्रुवाहक हो । कार्गो रेल व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने महानिर्देशक बिसुरालले बताए । बर्दिबाससम्म जोड्ने गरी थप १७ किमि खण्डमा काम भइरहेको छ ।
अहिले रक्सौल हुँदै वीरगन्जसम्म रेलमार्गबाट सामान ल्याउन सजिलो भएको छ । यसरी सीमा नाकामा बन्ने रेलमार्गलाई पछि पूर्वपश्चिम विद्युतीय रेलमार्गसँग जोडिने विभागको भनाइ छ । ‘भारतसँग सीमा जोडिएका सहरहरू छानेर रेलमार्ग निर्माण गर्न लागिएको हो,’ महानिर्देशक बिसुरालले भने, ‘सबै नाकामा रेलमार्ग निर्माणपछि सिधै सामान ल्याउन र व्यापारिक दृष्टिकोणले सस्तो पर्ने छ ।’ उनका अनुसार अन्य नाकामा काम थाल्नुअघि कटहरी खण्डमा निर्माणको काम अघि बढाउन आवश्यक छ । निर्माणको जिम्मा लिएको इरकनले एक महिनाभित्र उक्त खण्डको साइट क्लिएर नगरे काम नगर्ने चेतावनी दिइसकेको छ । यही कम्पनीले अन्य नाकामा पनि रेलमार्ग निर्माण गर्ने भएकाले पहिला कटहरी खण्डको साइट क्लिएर गरेर काम अघि बढाउनुको विकल्प नभएको उनले बताए ।
‘कटहरी खण्डमा अहिलेसम्म काम भएको भए अन्यत्र काम अघि बढाउन समस्या हुने थिएन,’ उनले भने, ‘यही खण्डमा काम गर्न नपाएपछि अन्य नाकामा इरकनलाई काम गरिदेऊ भन्न सकिएको छैन ।’ जसले गर्दा कहिलेबाट निर्माणको काम अघि बढ्छ भन्ने कुरामा आफूहरू नै अन्योलमा रहेको उनको भनाइ छ । ‘जयनगर–जनकपुरदेखि बर्दिबास खण्ड ६९ किमि रेलमार्ग निर्माण हुनेछ, यो खण्डको १७ किमि खण्डमा मुआब्जा टुंग्याएर निर्माणको काम गरिँदै छ,’ महानिर्देशक बिसुरालले भने, ‘अन्यत्र भने काम थालेको दशक बित्दा पनि प्रगति हुन सकेन, स्थानीयले काम गर्न दिएको भए अहिलेसम्म कटहरी खण्डमा रेल सञ्चालनमा आइसक्थ्यो ।’

अर्थ वाणिज्य

रिङ बनाएर विद्युत् आपूर्ति गर्दै प्राधिकरण

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासी क्षेत्रमा सञ्चालित तथा खुल्ने उद्योग र स्थानीयलाई पर्याप्त र भरपर्दो विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाउन लागेको हो ।
प्राधिकरणले परासी र रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो विद्युत् आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन चालु अवस्थामा रहेको प्राधिकरणको भनाइ छ ।
सुनवल सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरमध्ये एउटा सञ्चालनमा आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरे । घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योग तथा स्थानीयलाई पर्याप्त र भरपर्दो विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको बताए । उनले निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरका निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिए । सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरबाट त्यस क्षेत्रमा सञ्चालित सिमन्ट, स्टिल उद्योगसहित स्थानीय रूपमा विद्युत् आपूर्ति भइरहेको थियो । साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ ।
परासी क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिललगायत ठूला तथा साना उद्योगहरूले एक सय १५ मेगावाट विद्युत् खपत गर्ने प्राधिकरणको प्रक्षेपण छ । साथै, रूपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुने अनुमान छ । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्नेछ । कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
साथै, हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुनेछ ।

अर्थ वाणिज्य

गत वर्ष अलैंची निर्यात हालसम्मकै धेरै

- सीमा तामाङ

(काठमाडौं)
गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको ९९ लाख ९० हजार ८५९ किलो अलैंची निर्यात भएको छ । भन्सार विभागका अनुसार यो निर्यात हालसम्मकै उच्च हो । नेपालको कुल उत्पादनको ९८ प्रतिशत अलैंची निर्यात हुने र २ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो वर्ष मौज्दात राखिएको २५ प्रतिशत उत्पादन र गत वर्ष ५० प्रतिशत उत्पादन वृद्धि भएकाले निर्यात बढेको महासंघ अध्यक्ष निर्मल भट्टराईले बताए । गत वर्ष अलैंची निर्यात बढे पनि यस वर्ष ५ अर्ब हाराहारीमा मात्रै अलैंची निर्यात हुने नेपाल अलैंची व्यवसायी महासंघको भनाइ छ । यस वर्ष अलैंची उत्पादन ५० प्रतिशतले घट्ने अनुमानसहित निर्यातसमेत स्वतः कम हुने अध्यक्ष भट्टराईले बताए । ‘अलैंचीको फूल फुल्ने मौसममा गर्मी धेरै भयो, अकाशेपानी परेन, सिँचाइ गर्न सकिएन,’ उनले भने, ‘अकाशेपानीको भर पर्नुपर्दा अलैंची उत्पादन घट्ने अनुमान छ ।’
आर्थिक वर्ष ०७८/७९ मा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको विभाागको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । महासंघका अनुसार हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहे पनि पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । आर्थिक वर्षको अन्त्यतिर मूल्य बढ्दा गत वर्ष अलैंची धेरै निर्यात भएको र यस वर्ष करिब २ हजार टन मात्रै अलैंची मौज्दात रहेको भट्टराईको भनाइ छ ।
अलैंची आफ्नै उत्पादन र निर्यात हुने वस्तु भएकाले यसको उत्पादनका लागि सरकारले सिँचाइको व्यवस्था गरिदिनुपर्ने उनले बताए । ‘अलैंचीको फूल फुल्ने समयमा पानी चाहिन्छ । पानी भएन भने फूल फुल्दैन र उत्पादन हुँदैन,’ उनले भने, ‘अलैंची खेतीका लागि किसान आकर्षित भइरहेका बेला सरकारले सिँचाइमा जोड दिनुपर्छ ।’ नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहँदै आएकामा पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । भारतमा कच्चा पदार्थका रूपमा अलैंची जाने गरेको छ । पछिल्लो समय प्रशोधन गरी निर्यात गर्दा अनुदानसमेत पाइने हुँदा व्यवसायी त्यसतर्फ पनि आकर्षित भइरहेको महासंघका अध्यक्ष भट्टराईले जनाए । कृषि तथा पशुपन्छी डायरी ०८० अनुसार आर्थिक वर्ष ०७८/७९ मा ८ हजार ७ सय १४ टन अलैंची उत्पादन भएको थियो । उक्त वर्ष १५ हजार ९ सय ७६ हेक्टर जग्गामा अलैंची खेती गरियो । आर्थिक वर्ष ०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुँदा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा भने ७ हजार ९ सय ५४ टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ ।
अलैंची खेती गर्ने सबै जिल्लामा रोग लागेको अलैंची विकास केन्द्रका प्रमुख राजन परियारले बताए । ‘ढुसीका कारण डढुवा लाग्छ, त्यसबाट धेरै बगान सखाप भए,’ उनले भने, ‘अलैंची उत्पादन हुने सबै जिल्लामा यो रोग पुगिसकेको छ, इलामका धेरै ठाउँमा बगान सखाप भएका छन् ।’ यी रोग ‘रेसिस्टेन्ट’ भइसकेकाले विषादी हाल्दासमेत ठिक नहुने गरेको उनको भनाइ छ । ‘अलैंचीमा डढुवा रोग पुरानो भइसक्यो, विषादी हाल्दासमेत रोग बसिररहन्छ,’ उनले भने, ‘त्यसैले प्रांगारिक उत्पादनबाहेकको विकल्प नै छैन । केन्द्रले पनि यससम्बन्धी अध्ययन गरिरहेको छ ।’

अर्थ वाणिज्य

हवाई टिकटमा भ्याटविरुद्ध व्यवसायी सर्वोच्चमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास– हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गत मंगलबार पुगेको छ । नाट्टा ३ हजार बढी ट्राभल तथा टुर अपरेटरहरूको छाता संगठन हो ।
नाट्टाका महासचिव कुमारमणि थपलियाका अनुसार, हवाई टिकटमा भ्याट व्यवसायमैत्री नभएको, आन्तरिक राजस्व विभागद्वारा जारी सूचना अस्पष्ट भएको, अध्ययन नगरी हचुवाका भरमा भ्याट लागू गरिएको लगायतका कारण देखाउँदै नाट्टाले मंगलबार सर्वोच्चमा रिट दायर गरेको हो । अर्थमन्त्रीले बजेट व्यक्तव्य सार्वजनिक गरेदेखि नै भ्याट हटाउन माग गर्दै आएको नाट्टाले साउन ४ मा व्यवसायीहरू र पूर्वअध्यक्ष परिषद्को बैठक गरी कानुनी उपचारमा जाने संस्थागत निर्णय गरेको थियो ।
सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको ५ प्रतिशत टुर प्याकेजमा शुल्कबारे भने नाट्टाले विरोध गरेको छैन । पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय हवाई यातायात सेवा र यसको कारोबारको प्रकृति अन्य सेवाभन्दा बिल्कुलै फरक किसिमको भएकाले मूल्य अभिवृद्धि कर कार्यान्वयन लागू गर्न सहज नहुने बताउँदै आएका छन् । ‘नेपालबाट जारी हुने टिकटमा १३ प्रतिशत भ्याट लाग्नेबित्तिकै धेरैले विदेशी एजेन्टबाट टिकट खरिद गर्नेछन्,’ महासचिव थपलियाले भने, ‘यसले हुन्डीलाई प्रोत्साहन गर्नेछ भने नेपाली मुद्रा पलायन हुने जोखिम बढाएको छ ।’
नेपाली व्यवसायीले हवाई सेवाको अन्तर्राष्ट्रिय नियामक निकाय अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) र यसको कारोबार सहजीकरण गर्न स्थापना भएको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) समेतले हवाई यातायातलाई करको दायरामा राख्नु अन्तर्राष्ट्रिय सन्धिविपरीत भएको जिकिर गरेका छन् । ‘भ्याट लगाउनु व्यावहारिक नै छैन,’ महासचिव थपलियाले भने ।

Page 10
समाचार

'बन्चरेडाँडामा फोहोरले मानवअधिकार गम्भीर हनन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राजधानी सहरको फोहोर बिनाकुनै योजना विसर्जन गर्दा बन्चरेडाँडा र आसपासका मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको गम्भीर हनन भएको भन्दै मानवअधिकारवादीले वैकल्पिक व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मानवअधिकारवादीको ‘जवाफदेही निगरानी समूह’ ले स्थलगत अवलोकनका क्रममा फोहोरका कारण स्थानीयको जनजीवन निकै कष्टकर बन्दै गएको देखिएको जनाएको छ ।
नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडालाई काठमाडौं उपत्यकासँगै आसपासका २१ पालिकाको फोहोर विसर्जन गरिन्छ । ल्यान्डफिल व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले गरिरहेको छ । ल्यान्डफिलको योजनाअनुसार विसर्जन नगर्दा फोहोरले बन्चरेडाँडा आसपासका गाउँबस्ती दुर्गन्धित भएका छन् । निगरानी समूहका सदस्य गोपाल शिवाकोटीले जथाभावी फालिएको फोहोरले ७ सय घर परिवारको जीवन अस्तव्यस्त बनाएको बताए । ‘सिसडोल काठमाडौंको फोहोरले पुरै भरिएपछि अलि परको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको रहेछ,’ प्रत्यक्ष अवलोकन गरेर फर्किएका निगरानी समूहका सदस्य उनले भने, ‘त्यस क्षेत्रको दुई किलोमिटर परिधिका बस्तीहरूमा सहनै नसक्ने दुर्गन्ध फैलिएको छ । बाक्लो झिंगाले मानिसहरूको घर, भान्सा र जीउ नै ढाक्दोरहेछ ।’
शिवाकोटीका अनुसार सिसडोल नपुग्दै फोहोरको लिच्चड चुहिएर बस्ती आसपासको बाटो र खोलामा पसेको छ । ‘त्यो फोहोर यति विषाक्त रहेछ कि खुट्टामा पर्दा गाउँलेको क्यान्सरै भएको रहेछ,’ उनले भने, ‘त्यस क्षेत्रमा कि फोहोर फाल्न तत्काल रोक्नुपर्‍यो, कि ती मानिसलाई अन्यत्र सार्नुपर्‍यो ।’
ककनी गाउँपालिकामा पर्ने सिसडोल र बन्चरेडाँडा आसपासका बस्तीमा दुर्गन्धले जग्गा किनबेच पनि रोकिएको छ । बस्तीमा बस्नै नसकिने दुर्गन्ध र फोहोर तथा झिंगाको बाक्लो झुन्डले गर्दा त्यहाँको एक युवाको केही अघि तय भइसकेको विवाह अन्तिम समयमा भंग भएको शिवाकोटीले बताए । शिवाकोटी नेतृत्वको समूहले गरेको स्थलगत अवलोकनपछि जवाफदेही निगरानी समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय र संघीय सरकार तथा सरोकारवालालाई ल्यान्डफिल साइट पीडितहरूको संविधान प्रदत्त हक हनन नगर्न आग्रह गरेको छ ।
‘अत्यन्त अव्यवस्थित एवं खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिंगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण सिसडोल र बन्चरेडाँडावासीको जीवनयापन, यातायात तथा हिँडडुल कष्टकर परिस्थिति उत्पन्न भएको छ,’ समूहले विज्ञप्तिमा भनेको छ, ‘यस्तो परिस्थिति फोहोर व्यवस्थापनसँग मात्र सम्बन्धित नभई स्वास्थ्य र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उल्लंघनसँग गाँसिएको छ ।’

समाचार

छात्रवृत्ति विवरण नदिने ११ विद्यालयलाई कारबाही तयारी

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ संस्थागत (निजी) विद्यालयलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा २ बमोजिम अघि बढ्नुपरेको महानगर शिक्षा शाखाले जनाएको छ ।
महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण पेस गर्न गत सोमबारसम्मको म्याद दिएको थियो ।
उक्त म्यादमा पनि विवरण पेस नगर्ने विभिन्न ११ संस्थागत विद्यालयविरुद्ध कारबाही प्रक्रिया थालेको महानगर प्रमुख नागेश कोइरालाले बताए । उनका अनुसार ती विद्यालयलाई एक लाखसम्म जरिवाना गर्ने र त्यो पनि अटेर गरे महानगरले विद्यालयमा ताला लगाउनेछ ।
महानगरका अनुसार कारबाहीमा पर्ने संस्थागत विद्यालयमा वडा १८ को विराट मोर्डन, डीजेभीएस बोर्डिङ, वडा ६ को मेरिगोल्ड सेकेन्डरी, एकता ब्राइट फ्युचर, सनराई नेसनल, वडा ४ को उदयनन्द मेमोरियल, वडा १८ को डीजेभीएस बोर्डिङ, वडा ८ को एमिटी इन्टरनेसनल, पाथीभरा, बालवाटिका इन्टरनेसनल र वडा ११ को शिव विद्यामन्दिर छन् ।
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ । त्यस्तै आईईएमआईएसमा दर्ता नभएका विद्यालयसहित महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

समाचार

पूर्वसभामुख महरा र छोरामाथि छानबिन माग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि सुन तस्करीमा अनुसन्धान हुनुपर्ने माग संसद्मा उठेको छ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेको भन्दै सांसदहरूले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।
चिनियाँ नागरिक ली हानसङले दुबईबाट २०७९ पुस १० मा विद्युतीय चुरोटमा लुकाएर ल्याएको सुन भन्सारले जफत गरेको थियो । लीको लगेजमा रहेका ७३ बट्टामा ७ सय ३० थान भेप भेटिएको थियो । जफत भएको भेप विमानस्थल भन्सार कार्यालयमा राखिएका बेला राहुल महराले प्रमुख भन्सार अधिकृतलाई फोन गरेर लिलामी गर्नेबारेमा जिज्ञासा राखेका थिए । जफत गरिएको सुन गैरकानुनी रूपमा बेचबिखन गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले महराले मोबाइलबाट फोन गरी ‘जफत भएको इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया’ बारे सोधेका प्रहरीलाई बयान दिएका छन् । भन्सार प्रमुखले नै नाम उल्लेख गर्दा पनि सोधपुछ नगरी संरक्षण दिएको भन्दै विपक्षी दलका सांसदहरूले बुधबार प्रतिनिधिसभा बैठकमा विरोध गरेका हुन् । ‘हामीले सुनेका छौं– माओवादीका नेता कृष्ण महरा र छोराले सामान छुटाउन धेरै पटक फोन गर्नु भयो । बाहिर निकाल्न सम्भव नभएपछि सिगरेटकै रूपमा लिलाममा लान दबाब दिइयो,’ एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा भने, ‘सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) ले छानबिन गरेर ५ जनालाई मुद्दा पनि चलायो । सुन ल्याउने चिनियाँ नागरिकसँग १ सय ९५ पटक फोन गर्ने महरा बाबुछोरालाई बोलाएर अनुसन्धान गरिएन । प्रश्न गर्ने काम पनि भएन ।’ महरा बाबुछोरालाई सत्ताको आडमा उन्मुक्ति दिइएको उनले टिप्पणी गरे ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन काण्डमा मुछिएकालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए । उनले भने, ‘अरू प्रकरणमा पनि केही नाम आएका छन् । यसको पनि छानबिन होस् ।’ राप्रपाकै प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वसभामुख महरा र उनका छोरामाथि छानबिन हुनुपर्ने बताए । एमालेका ठाकुर गैरेले विद्युतीय चुरोटमा सुन ल्याएको घटनामा मुछिएका व्यक्तिलाई पनि गिरफ्तार गरेर कारबाही अघि बढाउनुपर्ने बताए । ‘ई–सिगरेटमा नाम आएकालाई किन गिरफ्तार गरिँदैन ?’ उनले भने ।

Page 11
खेलकुद

बास्केटबल लिग खेल्ने ८ टोली

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपाल बास्केटबल संघको आयोजनामा हुने नेसनल बास्केटबल लिग (एनबीएल) मा खेल्ने ८ टोली सार्वजनिक गरिएको छ । क्लबस्तरीय बास्केटबल लिग असोज १२ देखि १७ सम्म काठमाडौंमा हुनेछ ।
कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइ ब्रान्डिङ एजेन्सीको संयुक्त सहकार्यमा हुने पहिलो संस्करणको एनबीएलमा बूढानीलकण्ठ बास्केटबल क्लब, त्रिभुवन आर्मी क्लब, टाइम्स कलेज, रोयल बास्केटबल क्लब, गोल्डेनगेट कलेज, हाउन्ड्स एकेडेमी, विशाल मिलन केन्द्र र कीर्तिपुर बास्केटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
बूढानीलकण्ठका मालिक ऋषभ श्रेष्ठ, आर्मीका व्यवस्थापक पूर्ण खड्का, टाइम्सका संस्थापक एवं प्रमुख टीकाराम सापकोटा, रोयलका मालिक एवं प्रशिक्षक नृपेश श्रेष्ठ, गोल्डेनगेटका कप्तान विक्रम डंगोल, हाउन्ड्सका कप्तान उजेन नोर्बु गुरुङ, विशाल मिलनका कप्तान मिलन मल्ल र कीर्तिपुर बास्केटबलका व्यवस्थापक रोहित महर्जनले बुधबार टिम घोषणा कार्यक्रममा आ–आफ्नो टोलीको झन्डा प्रदर्शन गरे ।
बूढानीलकण्ठका ऋषभले पहिलो संस्करणमा हुन लागेको यस ऐतिहासिक प्रतियोगिता खेल्न पाउँदा आफूहरू कृतज्ञ रहेको बताए । आर्मीका व्यवस्थपक पूर्णले यो लिग खेल्न पाउने भएपछि खेलाडी निकै खुसी रहेको जनाउँदै लिगलाई निरन्तरता दिने अपेक्षा राखे । टाइम्सका टीकारामले कलेज स्थापना गरेदेखि नै बास्केटबल प्रवर्द्धन गर्दै आएकाले लिगमा लगाव बढेको जनाए । उनले भने, ‘हामीले उमेर समूहदेखि राष्ट्रियस्तरका सबै प्रतियोगिता खेल्दै आएका छौं, पहिलो पटक यस्तो मोडलमा हुन लागेको लिग खेल्न लालयित छौं ।’
रोयलका नृपेशले आफूहरू लिगमा राम्रो प्रतिस्पर्धा दिन आतुर रहेको सुनाए । गोल्डेनगेटका विक्रमले पहिलो पटक हुन लागेको यस्तो लिग खेल्न निकै उत्साहित रहेको बताए । हाउन्ड्सका उजेनले यस प्रतियोगिताले युवा खेलाडीलाई मौका दिँदै राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग गर्ने जनाए । विशाल मिलनका मिलनले आफ्नो टोली सामुदायिक क्लब भएको र आफूहरूसँग आवद्ध रहेको सबै समुदाय यसको लागि तयार रहेको जनाए ।
सन् १९९६ मा बास्केटबलको पहिलो राष्ट्रिय प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता जितेको स्मरण गर्दै कीर्तिपुर बास्केटबलका रोहितले पहिलो पटक हुन लागेको राष्ट्रिय लिगमा पनि च्याम्पियन बन्न आफूहरू तयार रहेको बताए । उनले कीर्तिपुर बास्केटबल क्लब इतिहास बोकेको टोली भएको जनाउँदै बास्केटबल लिगलाई पनि ऐतिहासिक बनाउन आफूहरू लागिपरेको जनाए ।
एनबीएलको सम्पूर्ण खेल कान्तिपुर टीभी एचडी, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिजनको यूट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ । कान्तिपुर टिभीले नै मार्केटिङको जिम्मा लिएको छ । नेपालमा खेलिने हरेक प्रमुख खेललाई एक्सपोजर दिलाउन कान्तिपुर टेलिभिजन प्रयासरत रहेको जनाउँदै कान्तिपुर टेलिभिजन एवं रेडियो कान्तिपुरका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईंले बास्केटबल लिगलाई पनि ठूलो इभेन्ट बनाउने उद्देश्य रहेको जनाए ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एनबीएल आयोजना गर्नुका पछाडि संघको योजनासहित पूर्वअध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सपना भएको बताए । ‘बास्केटबल संघसहित पूर्वअध्यक्ष शेर्पाको फ्रेन्चाइज लिग आयोजना गर्ने ठूलो सपना थियो,’ गुरुङले भने, ‘यसका लागि हामीले धेरै गृहकार्य गर्दै आएका थियौं । देशको आर्थिक अस्थिरताका कारण फ्रेन्चाइज लिग गर्न केही ढिलाइ भएको हो । तर यो लिगले खेलाडीका साथै यससँग सम्बद्ध सबैलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’
संघले आफ्नै बास्केटबल कोर्ट बनाउने उद्देश्य राखेको र त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहयोग गरिदिन उनले अनुरोध गरे । संघका उपाध्यक्ष नरेन्द्र थापाले एनबीएलले नेपाली बास्केटबलमा नयाँ आयाम थप्ने विश्वास लिएको जनाए ।
राखेप सदस्य–सचिव टंकलाल घिसिङले बास्केटबल लिगले धेरै अपेक्षा पूरा गरिदिन लागेको बताए । ‘यो खाले लिगले ठूलो अर्थ राख्दछ । अबको युग व्यावसायिक लिगको हो, त्यो क्षणमा नेपाली खेलकुद पुगेको छ । त्यसको प्रमाण बास्केटबल लिग हो,’ घिसिङले लिगलाई राखेपको समर्थन र सहयोग रहने प्रतिबद्धतासहित भने ।
डिजिफ्लाईका सीईओ उकेश लोहनीले एउटा भिजन बनाएर बास्केटबल लिगलाई अगाडि बढाउन खोजिएको जनाउँदै भने, ‘फुटसल र बास्केटबललाई अगाडि बढाउन हामी सन् २०१६ देखि लागिरहेका छौं । बास्केटबलका लागि ठूलो प्लेटफर्म तयार गरेर लिग गर्न लागेका छौं ।’

खेलकुद

एसियाड टर्च र्‍यालीमा दीपक, बक्सिङबाट आशा

- ध्रुव तुलाधर

(काठमाडौं)
१९ औं एसियाली खेलकुदको
टर्च र्‍यालीमा बक्सिङका एसियाड पदक विजेता दीपक महर्जनले प्रतिनिधित्व गर्ने भएका छन् ।
एसियाली खेलकुद चीनको हाङझाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदै छ । प्रतियोगिताको उद्घाटन हुनुअघि हाङझाउमै हुने एसियाड टर्च र्‍याली हुनेछ । टर्च र्‍याली हाङझाउको प्रसिद्ध स्थल वेस्ट लेकबाट सेप्टेम्बर ८ मा सुरु हुनेछ । जुन झेजियाङ प्रान्तका ११ सहरमा परिक्रमा गराइने छ । यो सेप्टेम्बर २० सम्म चल्ने कार्यक्रम छ ।
‘एकताको प्रतीक’ को रूपमा रहने उक्त टर्च एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रका खेलाडीले बोक्नेछन् । जुन खेलाडीलाई हरेक देशका राष्ट्रिय ओलम्पिक कमिटीले चयन गर्दछ । नेपालबाट दीपकलाई चुनिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी गराए । एसियाडकै लागि वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भारत जाने बक्सिङ टोलीलाई बिदाइ गर्दै सदस्य–सचिवले उक्त जानकारी दिएका हुन् । सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियाली खेलकुदमा दीपकले बक्सिङबाट कांस्य जितेका थिए ।
चिनियाँ भूमिमै बक्सिङमा नेपालको अर्को पदक पनि जितेको छ । त्यो पनि एसियाडमै हो । सन् १९९० को बेइजिङ एसियाडमा बक्सर चित्रबहादुर गुरुङले कांस्य पदक जितेका थिए । दुवै पटक बक्सिङले एसियाडमा सफलता पाउँदाका उनीहरू एक्लो पदकधारी हुन् । जुन संस्करणमा अरू खेलले पदक जित्न सकेको थिएन ।
सदस्यसचिव घिसिङले त्यही इतिहासलाई सम्झिए । उनले भने, ‘१९ औं एसियाड चीनमा हुँदै छ । यसअघि चीनमै भएका एसियाडमा पनि नेपालले पदक जितेको छ । पछिल्लोपल्ट बक्सिङबाट दीपक महर्जनले पदक दिलाउनुभयो । उहाँको सफलता र बक्सिङ खेललाई प्राथमिकतामा राख्दै हाङझाउको टर्च र्‍यालीमा दीपकलाई प्रतिनिधित्व गराउन परिषद्ले नेपाल ओलम्पिक कमिटीमार्फत सिफारिस गरिसकेको छ ।’
दीपक हाल हाङझाउ एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक पनि हुन् । उनले टर्च र्‍यालीमा देशको प्रतिनिधित्व गर्न पाउनुलाई आफू भाग्यमानी भएको ठाने । दीपकले कान्तिपुरसँग भने, ‘यो अवसर मेरा लागि ठूलो हो । चीनमै देशका लागि पदक जितें, फेरि चीनमै टर्च बोक्ने अवसर पाएको छु । यसलाई मैले आफू भाग्यमानी भएको ठानेको छु ।’
एसियाड तयारी र मैत्रीपूर्ण प्रतियोगिता खेल्न नेपाली बक्सिङ टोली बिहीबार भारतको पन्जाब जाँदै छ । टोलीमा १३ खेलाडी छन् । त्यसमा अधिकांस अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीको सहभागिता छ ।
पुरुष ५१ केजी तौल समूहमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भूपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी छन् । महिला ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजी तौल समूहमा सरस्वती राना छन् ।
प्रशिक्षकमा दीपकसहित शिव सिंह, प्रवीण तुलाधर र राज श्रेष्ठ छन् भने व्यवस्थापकमा श्यामकाजी अवाले छन् । पन्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगस्ट २७ सम्म प्रशिक्षणमा गर्नुका साथै मैत्रीपूर्ण प्रतियोगितामा सहभागी हुने नेपाल बक्सिङ महासंघले जनाएको छ ।
सदस्य–सचिवले एसियाली खेलकुदमा बक्सिङलाई इतिहास पुनर्लेखन गर्ने अभिभारा रहेको बताउँदै त्यही रूपमा तयारी गर्न खेलाडी रप्रशिक्षकलाई निर्देश गरे । आसन्न एसियाडका लागि बक्सिङसहित तेक्वान्दो र कराते पदक सम्भावित खेलका रूपमा उच्च प्राथमिकतामा राखिएको छ । त्यसमा पनि बक्सिङबाट एसियाडमा विशेष आशा राखिएको सदस्यसचिवको भनाइ थियो ।
बक्सिङले एसियाडका तीन संस्करणमा नेपालका लागि पदक जितेको इतिहास छ । दक्षिण कोरियाको सोलमा भएको १९८६ को एसियाडमा नेपालले पहिलोपल्ट बक्सिङमा सहभागिता जनाएको हो । त्यसमा चार पदक कांस्य जितेको थियो । पदक जित्नेमा स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठ थिए । त्यसपछि सन् १९९० को बेइजिङमा चित्रबहादुर गुरुङ र २०१० को ग्वाङझाउमा दीपक महर्जनले कांस्य जितेका थिए ।

खेलकुद

गौरिकाको अर्को कीर्तिर्मान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कीर्तिमानी पौडीवाज गौरिका सिंहले जापानको फुकुओकामा भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा बुधबार अर्को कीर्तिमान स्थापित गरेकी छन् ।
आफ्नो पुरानो टाइमिङ सुधार गर्नेक्रममा गौरिकाले बुधबार महिला ५० मिटर ब्याकस्ट्रोकमा ३१.४४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान रचिन् । गौरिकाले यस इभेन्टमा सन् २०१६ मा भारतको गुवाहाटीमा सम्पन्न १२ औं सागमा ३१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित गरेकी थिइन् ।
१३ औं सागकी चार स्वर्ण विजेता गौरिकाले यसै च्याम्पियनसिपको १०० मिटर ब्याकस्ट्रोकमा पनि कीर्तिमान स्थापित गरेकी थिइन् ।
हिट चरणमा ६१ प्रतिस्पर्धीले दूरी पार गर्दा गौरिका ४७ औं स्थानमा रहिन् । २८.२४ सेकेन्डभन्दा अगाडि रहेर दुरी पार गर्ने १६ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।
ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपको पुरुषतर्फ १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो टाइमिङमा सुधार गरेका छन् । एलेक्सले ५२.९६ सेकेन्डको टाइमिङमा सामान्य सुधार गर्दै ५२.९४ सेकेन्डको नयाँ कीर्तिमान बनाए । यस इभेन्टमा १ सय १५ जनाले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए, जहाँ एलेक्स ८१ औं स्थानमा रहे ।
एलेक्सले पुरानो कीर्तिमान काठमाडौंमा हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए । मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनेट १२.४६ सेकेन्डबाट दुरी पूरा गरेकी थिइन् । यसअघि डुवानाको २ मिनेट १५.०१ सेकेन्डको टाइमिङ थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको कीर्तिमान छ ।
अब नेपाली खेलाडीको दुई इभेन्ट छ । बिहीबार डुवानाले १०० मिटर फ्रिस्टायल र शुक्रबार एलेक्सले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने पौडीका टिम व्यवस्थापक नरेश वैद्यले जानकारी गराएका छन् ।

 

खेलकुद

इद्रुसको ७ विकेट

- कान्तिपुर संवाददाता


इस्तानबुल (एएफपी)– मलेसियाका सिमर स्याजरुल इद्रुस ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ विकेट लिने पहिलो पुरुष खेलाडी बनेका छन् । उनले सोमबार क्वालालम्पुरमा भएको चीनविरुद्ध ट्वान्टी–२० विश्वकप एसिया ‘बी’ छनोटको पहिलो खेलमा ७ विकेट लिएका हुन् ।
चीनको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो खेल थियो । ४ ओभरमा विनाक्षति चीनले १२ रन बनाएको थियो । आफ्नो दोस्रो ओभर लिएर आएका इद्रुसले पाँचौं ओभरमा ४ विकेट लिएपछि ११.२ ओभरमा २३ रनमै चीन धराशायी हुन पुग्यो । इद्रुसले लिएका सबै विकेट स्विङ बलमा बोल्ड थियो । उनको बल चीनका ब्याटरहरूले ठम्याउन सकेनन् । इद्रुसले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ७ विकेट लिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यसअघि कुनै खेलाडीले ७ विकेट लिन सकेका थिएनन् ।
नाइजेरियाका पिटर अहोको कीर्तिमान इद्रुसले उछिने । उनले सन् २०२१ मा सिएरा लियोनविरुद्ध ५ रन खर्चेर ६ विकेट लिएका थिए । भारतका दीपक चाहरले २०१९ मा बंगलादेशविरुद्ध ७ रन खर्चेर ६ विकेट र युगान्डाका दिनेश नक्रानीले लेसोथोविरुद्ध सन् २०२१ मा ७ रन नै खर्चेर ६ विकेट लिएका थिए । भारतकै युजभेन्द्र चहाल, अस्ट्रेलियाका स्पिनर एस्टाने एगर र श्रीलंकाका अजन्था मेन्डिसले पनि यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ६ विकेट लिएका थिए ।
वीरनद्वीप सिंहको १९ रनमा मलेसियाले ४.५ ओभरमै लक्ष्य पूरा गरेको थियो । सन् २०१९ को अक्टोबरमा भानुआटुविरुद्ध
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेयता उनले २३ खेलमा ४७ विकेट लिइसकेका छन् । यसअघि उनले ५ विकेट पनि लिएका थिएनन् ।

खेलकुद

जापान र स्पेन अन्तिम १६ मा

- कान्तिपुर संवाददाता

अकल्यान्ड (एएफपी)– उपाधि दाबेदार स्पेन (तस्बिरमा) र पूर्वविजेता जापान उत्कृष्ट प्रदर्शनसहित सहज जित निकाल्दै बुधबार महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
दुईपल्ट बालोन डी’ओर अवार्ड जितेकी एलेक्सिया पुटेलस घुँडाको चोटमुक्त हुँदै स्पेनी टिममा फर्किइन् र जाम्बियामाथि हात पारेको ५–० को जितमा आफ्नो भूमिका पनि निर्वाह गरिन् । यसअघि जापान कोस्टारिकामाथि २–० को जितसहित नकआउट चरण प्रवेशको नजिक पुगेको थियो । त्यसपछि स्पेनले हात पारेको नतिजाले दुई टिमलाई अन्तिम १६ मा पुर्‍याएको हो ।
जापान र स्पेनबीच सोमबार हुने खेलले समूह ‘सी’ विजेताको टुंगो लगाउने छ । तुलनात्मक रूपमा जापान र स्पेनका लागि यो समूह सजिलो थियो । दुवैले दुई खेलमा ६ अंक बटुले र दुवैले अहिलेसम्म गोल बेहोर्नुपरेको छैन । कोस्टारिका र जाम्बिया पनि सोमबार नै भिड्दै छन्, जुन खेल समूहको अन्तिम स्थानमा नरहनका लागि प्रतिस्पर्धा हुनेछ ।
अकल्यान्डस्थित इडेन पार्कमा बार्सिलोना स्टार पुटेलस पहिलो हाफपछि मैदानमा आएकी थिइन् । त्यसबेला जाम्बिया पूर्णतः ध्वस्त भइसकेको थियो । स्पेनले अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको विश्वकपमा सबैभन्दा तल्लो वरीयताको टिममाथि २ गोल गरिसकेको थियो । पहिलो खेलमा कोस्टारिकामाथि ३–० को जित हात पारेको स्पेनलाई टेरेसा अबेलेरियाले नवौं मिनेटमै गोल गर्दै जाम्बियाविरुद्ध अग्रता दिलाइन् । उनले २० हजार दर्शकसामु प्रतियोगिताकै एक उत्कृष्ट गोल गरिन् ।
त्यसको चार मिनेटपछि नै जेनिफर हर्मोसोले २–० बनाइन् । त्यसैले हाफटाइममा स्पेनी प्रशिक्षक जोर्गे भिदाले खेलाडी परिवर्तनको अवसर पाए, जुन जापान र अन्तिम १६ मा हुने खेलका लागि अवसर हो । हर्मोसोले फेरि पनि गोल गरिन्, जुन दोस्रो हाफमा भयो । वैकल्पिक खेलाडी अल्बा रेडोन्डोले पनि स्पेनका लागि दुई गोल गर्दै फराकिलो जित दिलाइन् ।
सन् २०११ को च्याम्पियन जापानले लगातार गल्ती गरेको कोस्टारिकामाथि त्यस्तै सहज जित निकाल्यो । डुनेडिनमा प्रतियोगिताकै सबैभन्दा न्युन ६,९९२ दर्शकमाझ जापानले कुनै पनि बेला समस्या बेहोर्नुपरेन र एकतर्फी खेल प्रदर्शन गर्‍यो । ३० हजार दर्शक क्षमताको डुनेडिन रंगशालाका अधिकांश सिट खाली नै थियो । जापानले पहिलो खेलमा जाम्बियालाई ५–० ले पाखा लगाएको थियो । पहिलो हाफको तीन मिनेटको अवधिमा दुई गोल गर्दै जापानले खेल कब्जा गरेको थियो । त्यसमा हिकारु नाओमोतो र १९ वर्षीया एओबा फुजिनोले गोल गरे ।

कर्नरबाटै सिधै गोल
पर्थ– म्यानचेस्टर युनाइटेडकी फरवार्ड एड्रियना लियोनले निर्णायक गोल गर्दै क्यानडालाई आयरल्यान्डमाथि २–१ को जित दिलाएकी हुन् । यस हारसँगै आयरल्यान्ड प्रतियोगिताबाटै बाहिरियो भने क्यानडाले नकआउट प्रवेशको सम्भावना कायमै राख्यो ।
ओलम्पिक च्याम्पियन क्यानडा पहिलो खेलमा नाइजेरियाविरुद्ध गोलरहित रोकिएपछि दबाबमा परेको थियो । तर, पर्थमा पुनरागमन गर्दै हात पारेको जितले क्यानडालाई इतिहासकै खराब सुरुआतबाट जोगाएको छ । आर्सनलकी मिडफिल्डर केटी म्याकाबेले कर्नरबाट सिधै गोल गर्दै चौथो मिनेटमा १६ हजार ६५ दर्शकसामु क्यानडालाई स्तब्ध पारेकी थिइन् । वर्षात्वीच उक्त गोलको खुसीयाली आयरल्यान्डले भव्य रूपमा मनाएको थियो । तर, मेगान कोनोलीले पहिलो हाफको अन्त्यतिर गोल गर्दै क्यानडालाई खेलमा फर्काइन् । लियोनले ५३ औं मिनेटमा विजयी गोल गरिन् । यसले पहिलो विश्वकपमा आयरल्यान्डको सम्भावना समूह चरणमै टुंग्याइदियो ।

Page 12