‘यो हो मेरो माइतीघर’
(काठमाडांैं)
बुबा, दाइ र आमा धर्नामै थिए । टेन्टभित्रबाट मनीषा साहले आमालाई बोलाइन् र भनिन्, ‘मेरो कुर्था सुकेन, तिम्रो सारी बेर्छु ।’ मनीषा आमाको सारीमा बेरिइन् । रातभरि झरीले चिसो भुइँ र त्रिपाल चुहिएर उनी भिजेकी थिइन् । दाजु, बाबु र आमा पनि चिसै थिए ।
धनुषाकी आरती साहको हत्याको न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग राखेर गत असार १ देखि राजधानीको माइतीघरमा धर्ना बसेका विनोद साहको परिवारले थुप्रै सास्ती खेप्नुपरेको छ । एकसरो लुगाबाहेक केही छैन । बिहान र बेलुका महाँकाल युवा समूहले खाना सहयोग गरे पनि दिउँसो भोकै बस्छन् । धर्ना बसेदेखि नुहाउन पाएका छैनन् । उनी मात्रै होइन, माइतीघरमा धर्ना बस्ने सबैको यस्तै हो । हुनेले पानी किनेर खान्छन्, नहुनेहरू तिर्खाएरै बसेका छन् ।
घर, समाजदेखि सरकारसम्मको गुनासो बोकेर न्याय माग्दै धर्ना बस्नेको ताँती माइतीघरमै छ । छोरीको हत्या भएको पीडा सुनाइरहेका विनोदको छेउमा अर्को धर्ना छ । जहाँ, राष्ट्र र राष्ट्रियता चिन्तन बोकेका नागरिक समाज छन् । राजा ल्याउनुपर्छ, देश डुब्न लाग्यो जस्ता शब्द लेखिएका ब्यानर राखेर उनीहरू दिनहुँ बैठक र छलफल गरिरहेका छन् । दुई महिनादेखि लगातार धर्ना बसेका सहकारीपीडित भने माइतीघरबाट बिहीबार घर फर्किए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा आन्दोलनरत सहकारीपीडित र सरकारी पक्षबीच ७ बुँदे सहमति भयो । सहमतिपछि आशाको किरण लिएर आन्दोलनकारी घर फर्किएका हुन् । बुटवलका सहकारीपीडित विक्रम पौडेलले सरकारलाई माइतीघरसम्म ल्याउन दुई महिनाभन्दा बढी रिले अनशन बस्नुपरेको बताए ।
३५ लाख रुपैयाँ सहकारीमा ठगिएपछि घरै जाने स्थिति नहुँदा माइतीघर धर्नामा बस्न बाध्य भएको उनले बताए । ‘भएजतिको रुपैयाँ डुब्यो, के मुख लिएर घर जानु ?’ उनी भन्छन् । उनका अनुसार देशभर सहकारीबाट पीडित धेरै छन् । उनीहरू पालैपालो रिले अनशन बस्दै आएका थिए ।
संसद्मा पुगेको शिक्षासम्बन्धी विधेयकको विषयलाई लिएर निजी शिक्षकको विरोध पनि माइतीघरमै चलिरहेको छ । सयौंको संख्यामा माइतीघर भरिभराउ हुँदा अरू धर्नामा बसेकाको आवाज गौण सुनिन्थ्यो । खुला स्थान नहुँदा आन्दोनकारीकै आवाज एकअर्कालाई बाधा बनेको देखिन्छ ।
शिक्षा विधेयकविरोधी शिक्षकको हुलमा एक्लै रूखमुनि धर्ना बसिरहेका गोरखाका तेलबहादुर घलेको आवाज गुमनाम थियो । उनी चुपचाप अरूको विरोध हेरिरहेका थिए । भीडमा अल्पमत हराए जस्तै, अर्काथरी धेरै प्रदर्शनकारीले उनको एकल विरोध दबिएको थियो । ‘अहिले धेरै मान्छेको विरोध आयो भने मैले धर्ना बसेको कसैले देख्दैनन्,’ उनी भन्छन्, ‘पीडित म पनि हुँ, प्रदर्शन स्थलमा पनि पीडितै भएको छु ।’ उनी नेपाली सेनासँग गुनासो राख्दै माइतीघर नै आएका छन् । बारपाक–२ सुलिकोटका ६६ वर्षीय घलेका अनुसार उनको रिसोर्ट बमले क्षतिग्रस्त भयो । क्षतिपूर्ति नपाएपछि उनी माइतीघर आएका हुन् । माइतीघरमा भएका आन्दोलनकारीका कोही न कोही आफन्त र साथी छन् । तर, घले भने एक्लै माग राख्दै धर्ना बसेका छन् । उनका अनुसार ०७५ असोज १४ मा नेपाली सेनाले सडक निर्माण गर्दा गराएको विस्फोटमा रिसोर्ट क्षतिग्रस्त भएको हो । आम्दानीको स्रोत छैन, छोराछोरी बिदेसिए, बुढेसकालमा पेट पाल्नै मुस्किल भएपछि क्षतिपूर्तिको माग गर्दै धर्ना बसेको उनी सुनाउँछन् । गुनासो लिएर ६४ दिन धर्नामा बसिरहँदा समेत उनलाई सुन्न आउने कोही छैनन् । ‘के दुःख पर्यो भन्दै कोही न कोही सुन्न आउँछन्,’ उनी भन्छन्, ‘दुःख सुनाउँछु, मन भुलाउँछु, बेलुका घर जान्छु ।’
श्रीमान् श्रीमतीका मुद्दासमेत यहीं माइतीघरमा छन् । बाँकेबाट न्याय खोज्दै माइतीघर आएकी आरती रावल गिरी श्रीमान्ले अत्याचार गरेको भन्दै सडकमा छिन् । उनी दिनभरि भुइँमै सुत्छिन् । आमाको साथबाहेक उनी एक्लै लडिरहेकी छन् । धर्ना बस्न आरतीलाई सजिलो छैन । भएको दुई/चार रुपैयाँ काठमाडौंमा खाएर सकियो । खर्च जुटाउन उनले छेउमा चन्दा बक्स राखेकी छन् । आरतीकी आमा मीना रावल भन्छिन्, ‘दया देखाएर, चन्दा दिनेहरू पनि आउँछन् । त्यसैले धर्ना बस्न हिम्मत जुटेको छ ।’
त्यस्तै, भक्तपुरकी विमला सुनारका लागि पनि माइतीघर मनको बह पोख्न गतिलो थलो बनेको छ । हातमा काठमाडौं जिल्ला अदालतको तारिख पर्चा बोकेर उनी कराइरहेकी हुन्छिन् । ‘त्यो मान्छे अदालत नआएर दुःख पाएँ’ भन्दै बर्बराउँछिन् । मानाचामल मुद्दा हालेकी उनले श्रीमान् अदालत हाजिर नहुँदाको पीडा माइतीघरमै पोखेकी
छन् । लोग्नेले लाउनखान नदिएपछि बेघर भएकी एकल आन्दोलनकारी सुनारको बासस्थान नै माइतीघर बनेको
छ । अंशचलन र भरणपोषणको माग गर्दै उनले
काठमाडौं जिल्ला अदालत मुद्दा हालेकी थिइन् । लोग्ने अदालतसम्म नआइदिएपछि उनी एक वर्षदेखि मुद्दाको
चक्कर खेप्नुपरेको बताउँछिन् । श्रीमान्ले घरबाट निकाले, जानलाई माइती छैनन्, कसैले पीडा सुनेर न्यायका
लागि पहल हुने हो कि भन्ने आस उनलाई छ । त्यसैले माइतीघरमा हरेक दिन अदालतको पत्र देखाउँदै भन्छिन्, ‘गाँस न बास, माइतीघरकै आस ।’
माइतीघरले कसैको माग पूरा गरिदिएको छ, कसैका बाँकी नै छन् । कतिपय त थाकेर घर फर्किए । विसं. २०७८ मा बाँकेकी निर्मला कुर्मी र नन्नी कुन्नीदेवीमाथि भएको हिंसा र अत्याचारविरुद्ध न्याय खोज्दै अधिकारकर्मी रुवी खान माइतीघर आएकी थिइन् । १४ जनाको समूहको नेतृत्व गर्दै उनी ४७ दिन धर्ना बसिन् । उनले माइतीघर मण्डलको गन्ध र सुगन्ध सबै महसुस गरेकी छन् । न्यायकै लागि काठमाडौं धाउनु रहरभन्दा बाध्यता थियो । २० दिन पैदल यात्रा गरेर माइतीघर आइपुग्दासम्म उनीहरू भोकैप्यासै थिए । कयौं दिनसम्म भोकै धर्ना बसे । बाँके प्रहरी प्रशासनले मुद्दा दर्ता नगरिदिएको भन्दै उनी न्याय खोज्न माइतीघर आउनुपरेको हो । रुवीका अनुसार माइतीघर वरिपरि केन्द्रीय सरकारका चिल्ला गाडी गुड्थे तर पीडितको अवस्था नजरअन्दाज गरेर जान्थे । शौचालय नहुँदा घण्टौं दिसापिसाब च्यापेर बस्नुपरेको उनी बताउँछिन् ।
पानी किन्नेसमेत पैसा नभएका पीडितले तिर्खा खेपेरै आन्दोलन गरिरहेको उनको अनुभव छ । कसैले दया गरेर एक दुई बोतल पानी ल्याइदिए पनि त्यो पर्याप्त थिएन । रुवी आन्दोलनको क्षण सम्झँदै भन्छिन्, ‘त्यति सभ्य सहरको मन भने अति असभ्य पाएँ ।’ यद्यपि केही सामाजिक संघसंस्थाले खानपानमा सहयोग गरेको गुन रुवी अझै सम्झन्छिन् ।
माइतीघरमा धर्ना बस्दाबस्दै ज्यान गुमाउनुपरेका घटना पनि छन् । २०७६ सालदेखि उखुको रकम भुक्तानी नपाएको विरोधमा जिल्लाभरका उखु किसान एक जुट भए । उनीहरू आफ्ना साधन हलो, जुवा र पीडासहित माइतीघरमा धर्ना बसे । ०७७ पुस १ देखि लगातार १६ दिन धर्ना बसेपछि मात्रै उखु किसान संघर्ष समिति र सरकारबीच चारबुँदे सहमति भएको थियो । न्यायका लागि संघर्ष गरिरहेका सर्लाहीका ६४ वर्षीय किसान नारायण राय यादव भने घर फर्कन पाएनन् । तनावका कारण बेहोस भएका उनलाई सहिद गंगालालमा उपचारकै क्रममा हृदयाघात भयो ।
माइतीघर परिसरमा गुहार माग्दै आउने सर्वसाधारण मात्रै छैनन्, विभिन्न कालखण्डमा नेताहरू पनि धर्ना र प्रदर्शनमा सामेल भएका छन् । ०७७ माघ १५ मा तत्कालीन नेकपा नेता पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता माइतीघर भुइँमा आए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरिदिएपछि पुनःस्थापनाको माग राखी न्याय खोज्दै माइतीघर मण्डला देखिए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरूसमेत ‘हामी यहाँ छौं’ भन्ने प्लेकार्ड लिएर माइतीघर नै आई प्रत्येक दिन दुई घण्टा धर्ना दिएर विरोध गरिरहेका थिए । ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने नाराका साथ विघटित प्रतिनिधिसभाका सांसदहरू, प्रदेशसभा सदस्यहरूलगायत धर्ना बसेका थिए ।
काठमाडौंको माइतीघर एउटा सामान्य चौरस्ता जस्तो छैन, दिनहुँजसो यहाँ देशभरबाटै माग, समर्थन, पीडा, कुण्ठा, आक्रोश र वेदनाका चीत्कार सुनाउनेहरूको भीड रहन्छ । माग सबैका बेग्लाबेग्लै राखेर दिनरात माइतीघरमा न्यायिक आन्दोलनका स्वर गुन्जिरहन्छन् । माइतीघरले नागरिकका पीडा मात्रै देखेको छैन, न्याय पाएपछिको खुसी पनि देखेको छ । महिनौं नागरिकता नपाएको गुनासो बोकेर धर्ना बसेका युवाहरू आन्दोलन सफल भएपछि खुसीले बिदा भएका थिए । रोकिएको नागरिकता विधेयक गत जेठ १७ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको समाचार आयो, त्यो दिन मण्डलामा धर्ना बसेका धनुषाको बटेश्वर गाउँपालिका–१ का अजय खुसीले उफ्रिएका थिए । नागरिकता नहुँदा शिक्षा, रोजगारलगायत अधिकारबाट वञ्चित भएका लगायतका धर्नाकारीले अँगालो मार्दै बधाई साटेका थिए । अजय त्यो खुसीको क्षण सम्झँदै भन्छन्, ‘माइतीघर नहुँदो हो त सायद हाम्रो आवाज सरकारसम्म पुग्दैनथियो ।’
काठमाडौं उपत्यका प्रहरी कार्यालयको गत वैशाख १ देखि साउन २२ सम्मको रेकर्डअनुसार माइतीघरमा यो अवधिमा विरोध प्रदर्शन १ सय ८३, धर्ना २ सय ४८ र र्याली २२ गरी ४ सय ५३ कार्यक्रम भएका छन् । गुठीसम्बन्धी विधेयकको विरोधमा लाखौं जनमत थेग्ने स्थान पनि माइतीघर हो भने, काठमाडौंमा पहिलो पटक न्याय खोज्दै आउने सर्वसाधारणको थलो पनि माइतीघर नै हो । चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसीको समर्थनमा जाउँ भन्दै सामाजिक सञ्जालमा आह्वान गरेकै आधारमा सयौं मान्छे भेला हुने स्थान माइतीघर नै हो । यहाँ ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पनि रातभर धर्नामा बसिसकेका छन् ।
विरोध प्रदर्शन गर्न माइतीघर नै किन ? राजतन्त्र माग्दै बसेमध्येका ४८ वर्षीय गणेश बज्राचार्य भन्छन्,
‘माइतीघरमा सबैको ध्यान केन्द्रित हुने भएकाले धर्ना बस्न उपयुक्त छ ।’ तर, व्यवस्थित नहुँदा पीडित झनै पीडित छन् । माइतीघर शान्तिपूर्ण आन्दोलन गर्ने थलोका रूपमा विकास हुँदै गए पनि यसको व्यवस्थापनप्रति न संघ संवेदनशील छ न त स्थानीय सरकार । काठमाडौं महानगरपालिकाले केही दिनदेखि अस्थायी शौचालयको व्यवस्था गरेको छ । यद्यपि आन्दोलनकारीका लागि स्थायी र व्यवस्थित स्थलको अभाव छ ।
लोकतान्त्रिक समाजमा आवाजविहीनको आवाज उठाउने ठाउँ बनेको माइतीघरले बेलाबखत निषेधको परिस्थितिसमेत झेल्नुपरेको छ । सरकारले ०७५ वैशाख १६ देखि माइतीघरमा कुनै पनि विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खुलामञ्च, तीनकुनेको खुला चौर, भगवानपाउको भुइँखेल चौर, पेप्सीकोला, खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन पाइने भनिएको थियो । ट्राफिक नियमको व्यवस्थापन र सडक सफा राख्ने ‘काइते’ तर्क दिएर सरकारले लोकतान्त्रिक जनताको आवाज थुन्न खोजेको भन्दै तत्काल अभियन्ता डा. गोविन्द केसी, डा. जीवन क्षत्रीलगायत नागरिकस्तरबाट विरोध भयो । ०७५ असार १६ मा माइतीघरमा विरोध प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गर्यो । प्रदर्शन गर्न गएका तत्कालीन विवेकशील साझा पार्टीका तत्कालीन संयोजक उज्ज्वल थापासहित अन्य केही नेता पक्राउ परेका थिए । सरकारले डा. केसीलाई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न रोकेको विरोधमा उनीहरू माइतीघर पुगेका थिए । आवाज सुन्ने सुनाउने माइतीघरको इतिहास उस्तै रोचक छ । सन् १९६६ मा नेपाली चलचित्र ‘माइतीघर’ बन्यो । बीएस थापा निर्देशित माला सिन्हा र सीपी लोहनीले अभिनय गरेको यही नेपालमा निजी क्षेत्रले बनाएको पहिलो मानिन्छ । कनकमणि दीक्षितका अनुसार माइतीघर चोक र माइतीघर चलचित्र निर्माणकर्ताको कार्यालय थापाथली इन्जिनियरिङ क्याम्पसको ठीक विपरीत थियो । त्यहाँ तीनतले पुरानो भवन थियो, जसको साइनबोर्डमा माइतीघर लेखिएको थियो । माइतीघरको फिल्म निर्माण कार्य सकिएर साइनबोर्डसमेत हट्यो, तर त्यो नामले ठाउँको स्थान जमायो । जनजिब्रोमा चोकको नाम ‘माइतीघर’ आयो ।
नेपालमा ११ औं सार्क शिखर सम्मेलनका लागि काठमाडौंलाई झिलिमिली बनाउने हेतुले विसं. २०५८ मा तत्कालीन मेयर केशव स्थापितले विशाल मण्डलको योजना अघि बढाए । माइतीघरमा कलात्मक मण्डल बनेपछि बोलीचालीमा ‘माइतीघर मण्डला’ प्रयोग हुन थालेको हो । तर, दीक्षित भने मण्डल शब्द सही अर्थ रहेको बताउँछन् । द्वन्द्वकालमा हरेक महिनाको अन्तिममा कति जना मान्छे मारिए भनेर नागरिकस्तरबाट उनीहरूको संख्याअनुसार मैनबत्ती बालेर समवेदना व्यक्त गरिन्थ्यो । ‘त्यतिबेलादेखि माइतीघर मण्डलमा मान्छेहरूले प्रदर्शन गर्ने चलन सुरु भयो,’ उनी भन्छन्, ‘अहिले प्रदर्शनको केन्द्र नै बनेको छ ।’ शान्ति सम्झौतापछि लोकतान्त्रिक शासनमा जनताको गुनासो कम सुनिन्छ भन्ने लागे पनि असन्तुष्टि र आवेग
बढ्दै गएको उनले बताए । यद्यपि काठमाडौंमा खुला
चौर मासिँदै गएको हुँदा जनताको विरोध पोख्ने थलोको अभाव भएको उनको अनुभव छ । लोकतान्त्रिक शासन व्यवस्थामा जनताको आवाज सुन्ने थलो व्यवस्थित गर्नु
पनि राज्यको दायित्व हो । ‘यहीं नै प्रदर्शन गर’ भनेर
राज्यले जनतालाई निर्देशन दिन पाइँदैन, जहाँ प्रदर्शन हुन्छन् उक्त क्षेत्र भने व्यवस्थित बनाउनु राज्यको जिम्मेवारी हुने उनको तर्क छ ।
माइतीघर मण्डलमा सडकदेखि सदनका वेदना पोखिने हुँदा लन्डनको विरोध प्रदर्शन गर्ने स्थल हाइडपार्कस्थित ‘स्पिकर कर्नर’ जस्तै हुँदै छ । सन् १८७२ मा लन्डनवासीले अन्यायविरुद्ध खुलेर विरोध गर्न पाउने एउटा थलो बनाए, जसलाई हाइडपार्कस्थित ‘स्पिकर कर्नर’ नाम दिइयो । त्यहाँ विरोधसँगै खुसी पनि सुनाइन्छ । त्यस्तै, माइतीघर मण्डला आवाजविहीनको आवाज सुन्ने र सुनाउने कुनो बनेको छ । देशको सर्वोच्च न्यायिक संयन्त्र, राज्य शक्तिको केन्द्र सिंहदरबार र सबै प्रमुख प्रशासकीय निकायको केन्द्र माइतीघरकै वरिपरि छन् । यहाँ आएर बोलेपछि छिट्टै गुहार पाइन्छ भन्ने पीडितहरूको भरोसा छ ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)











