दृष्टिकोण
युवालाई स्वदेशमै रोक्ने चुनौती
- खिमलाल भट्टराई
रोजगारी र अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ । आर्थिक–सामाजिक रूपान्तरणको विराट् उद्देश्यका निम्ति विकासका स्रोतहरूको परिचालन गर्ने योजना तर्जुमा गरियो भने पनि जनशक्तिको अभावमा केही गर्न नसकिने अवस्था बन्दै छ । मानवीय पुँजीको अभावको दुर्दशा कतै देशले भोग्नुपर्ने त होइन ? विद्यार्थीको अभावमा कलेज र विश्वविद्यालयहरू नै बन्द हुने अवस्था आउने त होइन ? जुन रफ्तारमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरू विदेश पलायन भइरहेका छन्, यसले गर्दा देशका कलेजहरूमा अध्यापनरत प्राध्यापक एवं कार्यरत कर्मचारीहरू निकम्मा हुने र सरकारी तथा निजी क्षेत्रका थुप्रै भौतिक संरचना खण्डहरमा परिणत हुने त होइनन् ? बेलैमा परिस्थितिको ठोस विश्लेषण र समाधानको पहल नभए अवस्था झन् गम्भीर बन्दै जानेछ । यस लेखमा पछिल्लो तथ्यांकलाई आधार मानेर समस्याको पहिचान, विश्लेषण र समाधानको उपाय के हुन सक्ला भन्नेबारे विमर्श गर्ने कोसिस गरिएको छ ।
नेपाल सरकार, श्रम विभागको पछिल्लो तथ्यांक अनुसार २०७९–८० मा मात्रै रोजगारीका लागि ५ लाख ८० हजार ९ सय ६२ पुरुष र ४९ हजार १ सय २८ महिला श्रमशक्ति बिदेसिएको छ । यस अन्तर्गत रोजगारीका सिलसिलामा बाहिरिएको जनशक्तिलाई हेर्दा उच्च दक्ष १२५, प्रोफेसनल ६८०, अर्ध दक्ष ५० हजार ६७ जना पुरुष र ४ हजार २ सय ६१ महिला, दक्ष २ लाख ६८ हजार ४ सय ५६ पुरुष र २३ हजार ४ सय ३३ महिला, अदक्ष २ लाख ६१ हजार ७ सय २ पुरुष र २१ हजार ३ सय ७७ महिला श्रम शक्ति बाहिरिएको छ । रोजगारीका निम्ति बाहिरिनेमा महिलाहरूको संख्या पनि क्रमशः बढ्दो छ । यो त औपचारिक र कानुनी ढंगले गएकाको संख्या हो, अनौपचारिक र गैरकानुनी बाटोबाट बिदेसिनेहरूको संख्या पनि ठूलै हुन सक्ने अनुमान गर्न सकिन्छ ।
उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारको शिक्षा मन्त्रालयबाट एनओसी लिएर जानेहरूको संख्या पनि ठूलो छ । २०७४ देखि अहिलेसम्मको डाटा हेर्दा ४ लाख ४७ हजार ७ सय ७१ विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भनेर बिदेसिएका छन् । २०७३ यताको प्रत्येक वर्षको तथ्यांक हेरौं । २०७३–७४ मा ५० हजार ७ सय ९६, २०७४–७५ मा ५८ हजार ७ सय ५८, २०७५–७६ मा ६३ हजार ४ सय १७, २०७६–७७ मा ३३ हजार १ सय ९६, २०७७–७८ मा २८ हजार ८ सय ८३, २०७८–७९ मा १ लाख २ हजार ५ सय ४ र २०७९–८० मा १ लाख १० हजार २ सय १७ जना अध्ययनका लागि भनेर एनओसी लिएर बाहिरिएका छन् । प्रस्तुत तथ्यांकको विश्लेषण गर्दा २०७३ देखि ७६ सम्म बिदेसिनेको संख्या क्रमशः बढ्दै गएको र २०७६–७७ मा यो संख्या ह्वात्तै घटेको देखिन्छ । यद्यपि पछिल्लो पटक २०७८–७९ मा भने यो संख्या लाखौंमा पुगेको छ । जुन रफ्तारमा विद्यार्थीहरू बाहिरिँदै छन्, त्यो मुलुकका लागि गम्भीर चुनौती र चिन्ताको विषय हो ।
युवाहरूको यस किसिमको विदेश पलायनले हाम्रा गाउँघरहरू वृद्धवृद्धा, महिला र बालबच्चाहरू मात्रै भएको समाजमा रूपान्तरित हुँदै छन् । यति मात्रै होइन, छोराहरू विदेशमा र बुहारीहरू छोराछोरी पढाउन भनेर सहर झर्दा गाउँहरू तिनै असहाय वृद्धवृद्धाहरूका मात्रै संवेदनशील बस्ती बन्दै छन् । युवा जनशक्ति नभएकाले बिरामी पर्दा अस्पताल पुर्याउने र मर्दा लास उठाउने मानिसको अभाव हुँदै गएको कुरा गाउँघरतिर सुन्न थालिएको छ । तर, यो अवस्थाको व्याख्या र विश्लेषणको मात्रै धेरै महत्त्व छैन, महत्त्व त यो अवस्थामा बदलाव ल्याउनुमा छ । बदलाव आउँछ कसरी ? केही चिन्तन गरौं ।
यहाँनिर युवाहरूको विदेश पलायनका मूलतः दुइटा उद्देश्य छन्— रोजगारी र अध्ययन । रोजगारीका निम्ति जानेहरू शिक्षित र शारीरिक श्रमशक्ति दुवै छन् । हामीले न ‘ब्रेन’ लाई रोक्न सकेका छौं, न त ‘लेबर’ लाई नै । ‘ब्रेन’ र ‘लेबर’ दुवै ‘ड्रेन’ भैरहेका छन् । रोजगारी, राम्रो तलब, सेवा र सुविधाको लोभमा डाक्टर र इन्जिनियरहरूले पनि देश छोड्ने गरेका छन् ।
प्लस टु सकेपछि उच्च शिक्षा अध्ययनका लागि भनेर किशोरकिशोरी लाखौंको संख्यामा बिदेसिँदै छन् । बाबुआमाहरू उनीहरूलाई रोक्न सक्ने हालतमा छैनन् । उनीहरू सकी–नसकी त्यसको बन्दोबस्तमा लाग्न बाध्य छन् । विदेशी विश्वविद्यालयहरूले यहाँबाट विद्यार्थी लैजान सयौं कन्सल्टेन्सी खोलेका छन् । वा, तिनीहरूलाई माध्यम बनाउँदै बाल मस्तिष्कलाई प्रभाव पार्ने अनेकौं काउन्सिलिङ यहाँ चलिरहेका छन् । के यी संस्थाहरूको कुनै सरकारी निकायबाट नियमन, नियन्त्रण र अनुगमन भैरहेको होला ? चिकित्सा शिक्षा र इन्जिनियरिङजस्ता विषयहरूको अध्ययनका निम्ति धेरै ठूलो जनशक्ति विदेशिइरहेको छ । यसबाट अर्बौं धनराशि पनि बाहिरिइरहेको छ ।
श्रमशक्तिको अर्को ठूलो हिस्सा शारीरिक श्रम बेच्न बिदेसिइरहेको छ । देशभित्र थोरै पनि आम्दानी गर्न सक्ने आधार नपाएर यो शक्ति बिदेसिन बाध्य भएको हो । विदेशी श्रम बजारमा रगत–पसिना बेच्न बाध्य एक श्रमिकको भनाइ छ— ‘चौतारी थियो वर थिएन, सहर थियो तर आफ्नो घर थिएन/परदेसिनु मेरो बाध्यता थियो, तर कुनै रहर थिएन ।’ थोरै कमाइको आशामा घरको गुजारा धान्न उनीहरू लाखौं खर्चिएर बिदेसिएका छन् । यसरी रोजगारीका लागि बिदेसिनुपरेका युवाहरूको गन्तव्य मुलुक भने तिनकै हैसियत अनुसारका हुने गरेका छन् । अनपढ, धेरै लगानी गर्न नसक्ने र शारीरिक श्रम मात्रै गर्न सक्ने श्रमशक्तिको गन्तव्य खाडी मुलुकहरू, मलेसिया आदि हुने गरेका छन् । अलि खर्च गर्न सक्ने र केही पढेलेखेका युवाहरू दक्षिण कोरिया, जापान लगायतमा अनि पर्याप्त खर्च गर्न सक्ने धनाढ्यहरूका छोराछोरीको युरोप–अमेरिका जाने गरेका छन् । सवाल यो हो कि, धनीदेखि निम्न वर्गसम्मका युवा जनशक्तिको गन्तव्य विदेश बनिरहेको छ । यति बेला नेपाली युवाहरूमा स्वदेशमै बसेर केही गर्न सकिन्छ वा गरौं भन्ने भावना मरिरहेको छ, जुन राष्ट्र र सत्ता सञ्चालकहरूका लागि गम्भीर चुनौती हो ।
हाम्रो भूगोल उर्वरा छÙ अपार जलस्रोत छÙ हजारौं नदीनाला, सयौं तालतलैया छन्Ù चिसो–न्यानो र गर्मीको मौसमी विविधता छ । हिमाल, पहाड, तराई, भित्री मधेश गरी भौगोलिक विविधता छ । १३० भन्दा बढी भाषाभाषी, १४० भन्दा बढी जाति–जनजाति छन् । जातीय एवम् सांस्कृतिक बहुलता छ । सयौं धार्मिक–सांस्कृतिक सम्पदाले भरिपूर्ण, दुर्लभ वन्यजन्तु र जडीबुटीले भरिएका वनजंगल भएको हाम्रो देशले युवाहरू दैनिकी चलाउनकै निम्ति सानोतिनो कामको खोजीमा बिदेसिनुपर्ने विडम्बनाबाट मुक्ति कहिले पाउने ?
हाम्रो मुलुकमा विकासको अनन्त सम्भावना छ, स्रोतहरू छन् । तिनको सही परिचालनबाट रोजगारीका अवसरहरू सृजना हुन सक्छन् । र, मुलुकको विकास र समृद्धि सम्भव हुन सक्छ । त्यसका लागि हामीले शिक्षा प्रणालीलाई लगभग आम रूपमै बदल्न जरुरी भएको छ । प्राविधिक र व्यावसायिक शिक्षा नै मुलुकको आवश्यकता हो । यसलाई पनि अनुभवमा आधारित बनाउन जरुरी छ । सैद्धान्तिकजस्तो प्राविधिक शिक्षाले पुग्दैन, पढाइ सक्दै गर्दा श्रमबजारमा पुगेर काम गर्न सक्ने शिक्षाको आवश्यकता छ । अझै काम गर्दै पढ्दै गर्न सकिने प्रणाली बनाउन जरुरी छ । मुलुकको विकासका स्रोतहरूमा आधारित शैक्षिक व्यवस्था र त्यसमा युवाहरूको परिचालन हुन सक्यो भने अध्ययनका लागि विदेश पलायन हुनेको संख्या निश्चित रूपमा घट्दै जानेछ ।
अर्को कुरा, मुलुकको राजनीतिले युवाहरूमा आशा र विश्वास जगाउन सक्नुपर्छ । युवाहरूमा देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास जागृत गराउनुपर्छ । र, मुलुकभित्रै केही गर्नुपर्छ भन्ने देशभक्तिको भावना पनि जगाउन सक्नुपर्छ । युवाहरूमा मातृभूमिप्रतिको कर्तव्यबोध गराउने जिम्मेवारी सरकारको हो, जसका लागि अहिलेको सरकार पूर्ण रूपमा असफल छ ।
नेपाल ३ करोडभन्दा कम जनसंख्यालाई सुखले पाल्न नसक्ने देश होइन । साधनस्रोतको हिसाबले नेपाल गरिब छैन । उपलब्ध साधन र स्रोतको समुचित उपयोग गर्न नसकेरै हामी अविकसित र गरिब भएका हौं । मुलुकभित्रका साधनस्रोतहरूको समुचित उपायोग नै देश विकासको आधार हो । मुलुकको राजनीति पनि तदनुरूप स्थिर, दृष्टिकोणयुक्त, योजनाबद्ध, लक्ष्यकेन्द्रित र संकल्पबद्ध हुन जरुरी छ, जुन हुन सकेको छैन । यही कारण युवापंक्तिमा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भइरहेको छ, परिणामस्वरूप युवा वर्ग भविष्य खोज्न विदेशतिरै कुदिरहेको छ ।
जलस्रोतमा अपार धनी नेपाल भर्खरै थोरै मात्र विद्युत् बिक्री गर्ने लक्ष्यमा पुगेको छ । यो पनि सकारात्मक पक्ष हो । हाम्रा नदीनालाहरूमा हजारौं मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ । यसको समुचित उपयोगका निम्ति पुँजी र प्रविधि जुटाउन सार्थक पहल गर्नुपर्छ, बुद्धि–विवेक लगाउनुपर्छ । हाम्रो भान्सा र यातायातका साधनमा मात्रै विद्युत्को प्रयोग हुन सके पनि पेट्रोल, डिजेल र खाना पकाउने ग्यास आयातमा गइरहेको अर्बौं रुपैयाँ जोगिन सक्छ । त्यो रकम अन्य उद्योगमा लगाउन सकिन्छ । यसले रोजगारीका अवसरहरू उपलब्ध गराउन सक्छ ।
धार्मिक पर्यटन नेपालको विकासको अर्को असाध्यै सम्भावना बोकेको क्षेत्र हो । पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम लगायतका थुप्रै धार्मिक पर्यटकीय क्षेत्रहरू नेपालमा छन्, जसले आन्तरिक र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्छन् । सगरमाथा र अन्य मनोरम प्राकृतिक दृश्यहरू पनि पर्यटनका केन्द्र हुन् । यिनको उपयोग र विकासका निम्ति पर्याप्त पूर्वाधारको आवश्यकता छ । यो नेपालीलाई स्वरोजगार बनाउन सक्ने क्षेत्र पनि हो । यिनको समुचित उपयोगले देशभित्रै लाखौंलाई रोजगारी दिन सकिन्छ ।
सबैभन्दा ठूलो संख्यामा रोजगारीका अवसरहरू सृजनाका
लागि चाहिँ औद्योगिकीकरणमै जानुपर्छ । यसका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्छ । उद्योग स्थापनाका निम्ति सहज कानुनी प्रबन्ध, सरल र सहयोगी प्रशासनिक संरचना, आवश्यक पूर्वाधार विकास, सुविधा र मुनाफाको सुनिश्चितता भए मात्रै स्वदेशी–विदेशी लगानीकर्ताहरू आकर्षित हुन सक्छन् । तर सरकारको ध्यान यता जान सकेको छैन । औद्योगिकीकरण युवाहरूको विदेश पलायनलाई रोक्ने महत्त्वपूर्ण आधार हो ।
निष्कर्षतः, राजनीतिलाई रोजगारीका अवसरहरूको सृजना, शिक्षामा परिवर्तन र गुणस्तरको सुनिश्चितता, उज्यालो भविष्य देखाउन सक्ने विकास र समृद्धिमा केन्द्रित बनाउन सके युवाहरूको विदेश पलायनलाई रोक्न सकिन्छ । अन्यथा मुलुक संकटतर्फै जाने हो, बेलैमा सोचौं ।
दृष्टिकोण
विविधताभित्र एकता
- झमक घिमिरे
यति बेला पहिचानको सवाल जोडतोडले उठिरहेको छ । यो सवाल उठाउनेहरूले आफ्नै सीमित परिधिमा पहिचान खोजेका हुन् कि बृहत् रूपमा, अन्योल देखिएको छ । सबैले आआफ्नै पहिचान खोज्नु स्वाभाविकै हो । यसको नाममा आपसी सहिष्णुताका कुराहरू चाहिँ नमेटौं, सहभावका कुरा नबिर्सौं । सबैभन्दा पहिला म नेपाली हुँ भन्ने कहिल्यै नभुलौं ।
कुनै देशको पहिचान त्यहाँको सभ्यता–संस्कृतिबाट हुन्छ । त्यसैले आन्दोलन गर्नेहरूले पनि यो नसोचून् कि आफ्नो पहिचान मात्रै राम्रो, अरूको सभ्यता र पहिचान नराम्रो । नेपाली भूमिमा विकसित भएका सबै सभ्यता र संस्कृति हाम्रा अमूल्य सम्पत्ति हुन्, यी सबैको संरक्षण गर्नु आवश्यक छ । हाम्रो मुलुकमा विभिन्न जातजाति र भाषाभाषीका मान्छेहरूका अलगअलग संस्कृति र सभ्यताहरू छन् । राज्यले एउटा जातको सभ्यता र संस्कृतिलाई मात्र जगेर्ना गरेर हुँदैन । सबै सभ्यतालाई जोगाउन सक्दा मात्र हामी नेपालीको पहिचान पनि रहिरहन सक्छ । त्यसैले समग्र जातजाति, भाषाभाषी, संस्कृति, संस्कार र सभ्यताको संरक्षण गर्नुपर्छ ।
हामीकहाँ विभिन्न सभ्यता छन्, संस्कृति छन् र ती हाम्रा गर्व गर्नलायक धरोहर हुन् । हामीसँग सहिष्णुताको बन्धन यति बलियो छ कि जोकसैले तोड्न सकेको छैन । अहिले यसैमा कसैले कलहको बीउ रोप्न खोजिरहेको छ । कहिले धर्मका नाममा, कहिले जातीयताका नाममा, कहिले भाषाका नाममा, कहिले संस्कृति–सभ्यताका नाममा हिंसा–प्रतिहिंसा मच्चाउन खोजिरहेका छन् । यसमा हरेक नेपाली सचेत र सजग हुनु आवश्यक छ ।
हाम्रो राष्ट्रियतालाई जति बेला पनि हस्तक्षेप गर्न सकिने बनाउन खोजिरहेका छन्, बाहिरिया शक्तिहरू । त्यसलाई रोक्न सबै नेपाली एकजुट हुन जरुरी छ । अहिले राष्ट्रियता कमजोर भएका बेला सबैले आआफ्ना स्वार्थलाई परै राखेर राष्ट्रियताका पक्षमा उभिनु आवश्यक छ । राष्ट्रियता बलियो भयो भने मात्र हाम्रो पहिचानसमेत बलियो हुन सक्छ । राष्ट्रियता कमजोर पारे हाम्रो कुनै पनि मुद्दा बलियो भएर उठ्न सक्दैन । यो कुरा सबै नेपालीले स्पष्ट रूपमा बुझ्नुपर्छ ।
कसैले सचेत भएर आफ्नो पहिचान खोज्नु नराम्रो कुरा होइन । सरकारले पनि पहिचानवादीको जायज माग सुनेर त्यसलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने प्रबन्ध गर्नुपर्छ । तर सद्भाव र सहिष्णुताका विरोधीहरू एकअर्कामा फाटो ल्याएर सिंगो नेपालमा खेल खेल्न खोजिरहेका छन् । यसलाई सबैले राम्ररी बुझौं । नेपाललाई कमजोर बनाउने खेल चारैतिरबाट खेल्न थालिएको छ । यसबाट राष्ट्रलाई कसरी बचाउने भन्ने सोच सबैमा हुनु आवश्यक छ । देशलाई नै खतरा भइरहेका बेला एकअर्कामा लडेर आफ्नै अस्तित्व खतरामा पार्ने काम कसैले गर्न हुन्न ।
कसैको पहिचान कसैलाई पनि भारी पर्न हुन्न, स्वयम् आफैंलाई पनि बोझ बन्न हुन्न । हाम्रा संस्कृति, संस्कार, सभ्यता र पहिचान राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा गर्व गर्ने विषय बन्नुपर्छ । कुनै पनि नेपालीले आफ्नो पहिचान बताउनुपर्दा मुख खुम्च्याउन नपरोस्, छाती चौडा पारेर हामीकहाँ यी जातजातिमा यस्तायस्ता संस्कृति–सभ्यता छन् भन्न पाइयोस् । यस्तै सद्भाव र सहिष्णुताको संस्कृति खोजिरहेको छ आज देशले । बहुल संस्कृति, बहुल भाषा, बहुल जाति, बहुल विचार, बहुल सोच नै हामी नेपालीको सिंगो पहिचान हो । विविध सभ्यताका मान्छेहरूबीचको एकता नै नेपाली हुनुको विशेषता हो । यो गर्वलाई हामीले सधैं कायम राख्नुपर्छ । आपसी सद्भाव र सहिष्णुतालाई कसैले पनि भत्काउन नखोजौं, भत्काउन खोज्नेलाई दण्डित गरौं । सबैले नेपाली हुनुमा गर्व गरेर बाँच्ने वातावरण बनाऔं । नेपाललाई विविध रङका फूल भएको फूलबारी बनाउनमा कत्ति पनि कन्जुस्याइँ नगरौं ।
दृष्टिकोण
दलितमाथि अतिवाद कहिलेसम्म ?
- सुशील बीके
दलितको घर, के घर
यसैले भत्काइन्छ र जलाइन्छ सहजै
दलितको शरीर, के शरीर
यसैले गरिन्छ हत्या, बिनाहिचकिचाहट
दलितको जीवन, के जीवन
यसैले बनाइन्छ नारकीय सधैं ।
अहिलेको समाज माथिका हरफभन्दा पृथक् देखिँदैन । छोइछिटो गर्ने र अपमान गर्ने तहबाट धेरै अगाडि बढेर दलितमाथिको विभेद अहिले अतिवादको तहमा उक्लेको छ । अन्तरजातीय प्रेम र विवाह गर्दा जाजरकोटका नवराज विक तथा काभ्रेका अजित मिजार (जसको लास हत्या भएको करिब सात वर्ष हुँदा पनि अस्पतालमै छ) सहित दलित समुदायका दर्जनौं व्यक्तिको हत्या भएको छ । अधिकांशको हत्या पाँच वर्षयता भएको हो । दलित बालिका र महिलाको बलात्कार र
हत्याको शृंखला झन् कहालीलाग्दो छ । हरेक दिन हरेक दलितले भोग्ने विभेद र अपमानको सीमा नै छैन ।
राज्यसंरक्षित विभेद बढीरहेको परिवेशमा ‘डिजिटल डिस्क्रिमिनेसन’ ले दलित समुदायलाई थप पीडा दिएको छ । आम रूपमा हुने अपमान, कुटपिट, विभेद, तिरस्कार, बहिष्कारबाट अगाडि बढेर हत्याहिंसाको तहमा पुगेको अतिवाद जुम्लामा घरमा आगो लगाउने र बझाङमा घर भत्काउने स्तरमा पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा, जहाँ संविधानले सबै किसिमका विभेद वर्जित गरेको छ, जातकै कारण मानिसको हत्या गरिन्छ, घरमा आगो लगाइन्छ, भत्काइन्छ भने योभन्दा ठूलो अतिवाद अर्को के हुन सक्छ ?
अतिवादले निम्त्याउने भनेको द्वन्द्व र अराजकता नै हो । जसले दलितको घर भत्काए, उनीहरूका घर पनि त्यसरी नै भत्काइयो, घर जलाउनेहरूका घर पनि त्यसरी नै जलाइयो अनि जसले हत्याहिंसा र विभेद गर्छन्, उनीहरूविरुद्ध त्यही किसिमको प्रतिरोध गरियो भने अवस्था के होला ? समाज कता जाला ? विभेदकारी समाजले यसरी कहिल्यै सोचेको छ ?
अतिवादसँगै दण्डहीनताको पराकाष्ठा
वर्ण र जात व्यवस्थाले थिचिएको समाजमा दलितहरू कति निरीह अवस्थामा छन्, त्यो शब्दमा बयान गर्न कठिन छ । कुटपिट, अपमान, तिरस्कार, हत्याहिंसा र बलात्कार गरिन्छÙ गाउँनिकाला गरिन्छÙ बहिष्कार गरिन्छÙ नाकाबन्दी लगाइन्छÙ घरमा आगो लगाइन्छ, भत्काइन्छ । यस्तो कहालीलाग्दो र अत्यासलाग्दो जीवन बाँच्दै आइरहे पनि अधिकांश दलित केही गर्न नसक्ने अवस्थामा छन् । ‘मलाई विभेद गरे, कुटे, म अन्याय र अत्याचारमा परें’ भन्न मिल्ने ठाउँ छैन । सुनिदिने पनि कोही छैन । वर्ण र जात व्यवस्थाका अवशेष मनमस्तिष्कमा बोकेकाहरूको भीडमा दलितहरूका पक्षमा बोल्ने कोही छैनÙ उनीहरूलाई सुरक्षा दिने, संरक्षण गर्ने र न्याय दिने कोही छैन । राज्य मौन छ र विभेद गर्नेलाई कतिपय अवस्थामा राज्यले नै संरक्षण गर्ने गरेको छ । छुवाछुतका एकदुई घटना मात्र कानुनी प्रक्रियामा अगाडि बढ्नुले यही देखाउँछ ।
देशमा संविधान छ, कानुन छ, मानव अधिकार छ तर दलितमाथि चरम दमन, अतिवादी हर्कत रोकिएको छैन । कहिलेसम्म चुपचाप सहिरहने यस्ता अतिवादहरू ? कहिलेसम्म राज्य मूकदर्शक बनिरहने ? दलहरू, अधिकारकर्मी र समाज कहिलेसम्म रमिते बनिरहने ? अतिवादले कुन तहको सीमा नाघेपछि बोल्ने हो ?
एक व्यक्तिसम्बद्ध केसलाई लिएर सारा परिवारको आस्था र विश्वासको छहारी, जीवनको उद्देश्य र सपना सञ्चालन गर्ने ठाउँ अर्थात् सिंगो घर नै जलाएर नष्ट पारिदिनु कुन हदसम्मको आपराधिक र विभेदकारी सोच हो ? दलितहरू केही हैनन्, यिनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोचको पराकाष्ठा हो यो । दलितले बनाएको घरमा बसेर, दलितले बनाएका सामग्री प्रयोग गर्दै दलितकै हत्या गर्ने, घर भत्काउने र जलाउने साहस र शक्ति कहाँबाट प्राप्त हुन्छ ? कानुन हातमा लिएर अतिवादी हर्कत गर्ने अधिकार कसले दियो ? यस्तो अक्षम्य अपराधको जति निन्दा गरे पनि कमै हुन्छ ।
जेलको छिँडीमा चिसो हावा खानुपर्नेहरू शिर ठाडो पारेर समाजमा हिँड्छन् । आत्मग्लानि हैन, गौरवबोध गर्दै सानका साथ हिँड्छन् । उल्टो पीडित दलितलाई धम्क्याउँछन्, जुन आजसम्मको दण्डहीनताकै परिणाम हो । कानुन कार्यान्वयन गर्ने निकायमा जात व्यवस्थाका ठेकेदारहरू हुनुको दुष्परिणाम हो यो । यो तहको अराजकता, उद्दण्डता र मनपरीतन्त्रविरुद्ध राज्य र समाज कहिले उभिन्छन् ?
आक्रोश र प्रतिरोधको सम्भावित दृश्य
छुवाछुतका घटना बढ्दा छन् । विभेद र पीडालाई गहिरोसँग महसुस गर्ने व्यक्तिहरू सामाजिक सञ्जालका कारण विश्वभरि नै बढ्दा छन् । लामो समयसम्म दास–गुलामको जीवन बिताएका दलितहरूमा समेत अहिले आक्रोश बढ्दो छ । वर्षौंदेखि विभेद, शोषण, दमन, अत्याचार र अपमानले दबिएका दलितहरूमा कुन तहको रिस, आक्रोश र आवेग छ, त्यसको लेखाजोखा गर्न सकिँदैन । त्यो आक्रोश हिंसात्मक विद्रोहमा परिणत भयो भने आश्चर्य नमाने हुन्छ ।
भारतीय सेनाबाट निवृत्त, ७२ वर्षे मेरा एक अभिभावक दलितमाथि देशव्यापी रूपमा भैरहेका अतिवादी हर्कतबाट आक्रोशित बन्दै बारम्बार भन्नुहुन्छ, ‘जसले दलितलाई विभेद गर्छ, ज्यादती गर्छ, उसको सशक्त प्रतिकार गर्ने योजना बनाऔं । म फ्रन्टलाइनमा बसेर लड्न तयार छु ।’ वृद्ध व्यक्तिमा त यस्तो आक्रोश छ भने देश–विदेश देखे–भोगेका, सचेत र सशक्त युवाहरूमा कति आवेग होला ? प्रकृतिले सुन्दर उपहारका रूपमा दिएको एक बारको जिन्दगीलाई अत्यन्त कष्टप्रद, कुरूप र नारकीय बनाइदिने व्यक्ति र समुदायलाई कुन दलितले बिर्सन सक्छ र क्षमा दिन सक्छ ?
बुद्ध, योगमाया र भगत सर्वजित विश्वकर्मा हुँदै आजका दिनसम्म आइपुग्दा दलित आन्दोलनको मूल प्रवृत्ति शान्तिपूर्ण प्रतिरोध नै रहेको छ । यस्तो शान्तिपूर्ण प्रतिरोध हलो जोत्न बन्द गर्ने, आरनको टुँडो भाँचेर चुप बस्ने, मन्दिर प्रवेश गर्ने, पानी उभाउने, डेरीमा दूध भर्ने, सहभोज गर्ने, ज्ञापनपत्र बुझाउने, सडक प्रदर्शन गर्ने र अन्तिममा बन्द–हडताल गर्ने आदिमा सीमित छ । यो आन्दोलनले कहिल्यै हिंसा र विखण्डनको बाटो लिएको छैन । तर शान्तिपूर्ण र शालिन तरिकाले राखेका मागहरू न राज्यले सुनेको छ न समाजले ‘रियलाइज’ गरेको छ । सात दशक पुरानो आन्दोलनको समीक्षा गर्ने क्रममा आम दलित र त्यसमा पनि युवा पुस्ता शान्तिपूर्ण आन्दोलनले परिणाम ल्याउनेमा आश्वस्त छैनन् । उनीहरू जुनसुकै तहको प्रतिरोध गर्न पनि तयार हुनुपर्ने मत राख्छन् । अर्थात्, गैरदलितले गर्ने दमनजस्तै हिंसात्मक प्रतिरोध । कल्पना गरौं, उनीहरू आफूले बनाएका सबै घरेलु हतियार लिएर विभेद गर्नेहरूमाथि जाइलागे भने अवस्था कस्तो होला ? जुम्लाका मृगेन्द्रको घर जलाउनेहरूका घर पनि दलितहरूले जलाइदिए भने, बझाङका ओखेडाको घर भत्काउनेहरूका घर पनि त्यसरी नै भत्काइदिए भने के हुन्छ ? जसरी अहिले दलितमाथि चौतर्फी हमला भएको छ, हत्याहिंसा भएको छ, त्यसरी नै उनीहरू पनि हिंसात्मक प्रतिरोधमा लागे भने के होला ?
पछिल्लो समय समाजमा धेरै किसिमका बदलाव आएका छन् । पढ्नेलेख्ने दलितहरूको संख्या बढ्दो छ । विदेश गई आर्थिक अवस्था बलियो बनाउने क्रम पनि बढ्दो छ । मूलतः विदेशमा रहेकाहरूले त्यहाँको अवस्थासँग तुलना गरेर आन्दोलनलाई उठाउनका लागि गरिरहेको पहलले नेपालमा दबाब बढ्दो छ । राज्यका विभिन्न निकायमा दलितहरूको पहुँच र प्रतिनिधित्व पनि निरन्तर बढ्दो छ । यी सबका कारण समाजमा दलितहरूको शक्ति सम्बन्धमा पनि बदलाव आएको छ । अब दलितहरू पहिलाजस्तै गैरदलितसँग परनिरर्भर हुन नपर्ने अवस्था पनि बढ्दो छ । उनीहरूका अगाडि दास र गुलाम बन्नुपर्ने र जीउ–हजुर गर्नुपर्ने स्थिति साँघुरिँदो छ । यस परिवेशमा पढेलेखेको, देश–विदेश डुले–घुमेको र सशक्तीकरण भएको युवा पंक्ति सशक्त प्रतिकारको तयारीमा छ । यस्तो परिवेशलाई समाजका अध्येताहरू, राजनीतिक दलहरू र शासकहरूले कसरी लिन्छन् र सम्बोधन गर्छन्, त्यसैबाट दलित प्रतिरोधको स्वरूप निर्धारण हुने देखिन्छ ।
दलित युवाहरू अब पनि चुपै बसिरहँदैनन् । यसको केही संकेत त संविधान निर्माणको आसपासदेखि दलित दस्ता र दलित सेना बनाउने प्रयास भएबाटै मिलेको थियो । केही समयअघि कर्णालीमा दलित दस्ताले मार्चपास गर्यो । आत्मरक्षाका विभिन्न अभियान शुरु भएका छन् । यसको एउटै सन्देश हो— अहिलेका दलित युवाहरू विगतमा जस्तै सबै कुरा सहेर बस्नेवाला छैनन् ।
अन्त्यमा, अतिवादी घटनाक्रम यति अगाडि बढ्दा पनि राजनीतिक दलहरू, राज्यका निकायहरू, तीनै तहका सरकारहरू, अधिकारकर्मीहरू कानमा तेल हालेर बस्नु उदेकलाग्दो छ । संविधान र कानुनको कार्यान्वयन गरी सबै किसिमका विभेद र हिंसा अन्त्य गर्ने मुख्य दायित्व भएको यो पंक्ति कहिले ब्युँझिएला ? दलितहरूले हिंसात्मक विद्रोह सुरु गरेपछि कि त्यसअगावै ?