You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

कोशीमा सत्ता राजनीतिको तमासा

- कान्तिपुर संवाददाता

(मोरङ)
कोशीमा प्रदेशसभाको अंक गणितीय जटिलताबीच सत्तापक्ष र प्रतिपक्ष दलहरू आ–आफ्नै राजनीतिक दाउपेचमा लागेका छन् । सत्तापक्षले अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया सुरु गरेसँगै मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिएर गठबन्धन सरकारलाई निरन्तरता दिने दाउमा छन् । प्रमुख प्रतिपक्ष एमाले भने बजेटको प्रतिस्थापन विधेयक पारित गराउने तर मुख्यमन्त्रीलाई विश्वासको मत नदिई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम दलका नेता हिक्मतकुमार कार्कीलाई सबभन्दा बढी सदस्य भएको दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गराउने
दाउमा देखिन्छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारलाई अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयक प्रदेशसभाबाट पारित गराएर भदौ १० भित्र प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणीकरण गराइसक्नुपर्ने र मुख्यमन्त्री थापालाई भदौ १३ भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने बाध्यात्मक अवस्था छ । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ तथा प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र प्रतिपक्षी राप्रपाका ६ सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन र बजेटको प्रतिस्थापन विधेयक पारित गराउन ४७ सदस्यको समर्थन आवश्यक छ । सत्तारूढ गठबन्धन दलसँग बहुमत ४७ सदस्य छन् तर त्यो बहुमत उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने जटिल परिस्थिति छ ।
तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिए । त्यसपछि सभामुख गौतमले पदबाट राजीनामा गरेर संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा थापा साउन १६ गते पुनः दोस्रो पटक बहुमत पुर्‍याई मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यसैले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अर्थात् भदौ १३ गतेसम्ममा मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिनैपर्ने बाध्यता छ ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन उपसभामुख दनुवार प्रदेशसभा बैठकको अध्यक्षता गर्न सहजै आउने अवस्था नरहेको गठबन्धन दलकै सांसदहरूको भनाइ छ । उनी एमालेबाट निर्वाचित हुन् । सभामुखको राजीनामा र उपसभामुख अनुपस्थित भएको अवस्थामा यसअघि प्रदेशसभाले गठन गरेको ४ सदस्यीय अध्यक्ष मण्डलका सदस्यमध्येबाट वर्णानुक्रम वा ज्येष्ठताका आधारमा एक जनाले प्रदेशसभाको अध्यक्षता गर्नेछन् । अध्यक्ष मण्डलमा कांग्रेसका प्रदेश सांसद इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर बिष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् ।
प्रदेशसभा सचिवालयका एक अधिकृतले उपसभामुख अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा रहेका राप्रपाका बिष्ट र एमालेकी लिम्बू पनि अनुपस्थित हुने निश्चित रहेको बताए । त्यस अवस्थामा कांग्रेसका मन्सुरी र माओवादीका तिम्सिनामध्ये एकले बैठकको अध्यक्षता गर्नुको विकल्प देखिन्न । गठबन्धन दलका प्रदेश सांसदले अध्यक्षता गरेपछि विश्वासको मत दिने सांसदको संख्या ४६ मा झर्ने र विश्वासको मत नपाउने अवस्था निर्माण हुने निश्चित छ । बहुमतका लागि आवश्यक संख्या ठिक्क पुगेकाले गठबन्धन सभामुख लिने पक्षमा देखिन्न ।
कांग्रेसका एक सांसदका अनुसार संवैधानिक व्यवस्थाविपरीत उपसभामुख अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा रहेका गठबन्धन दलका सांसदको अध्यक्षतामा बैठक बस्ने र अध्यक्षको समेत निर्णायक मतले बहुमत पुर्‍याई पुनः असंवैधानिक रूपमा विश्वासको मत सिद्ध गर्ने रणनीतिमा मुख्यमन्त्री थापा लागेका छन् । त्यसपछि पुनः एमालेलाई सर्वोच्च अदालत पुग्नुको विकल्प नरहने र अदालतले उपसभामुख आफ्नो भूमिकाबाट भागेर अनुपस्थित भएकाले विश्वासको मतलाई जायज रहेको व्याख्या गरिदिन सक्ने अनुमान गरिएको छ । त्यसैले भदौ १ अगाडि नै दनुवारलाई पदबाट राजीनामा गराउने वा नगराउने विषयमा उपसभामुख, दलका नेता कार्कीलगायत प्रदेश सांसद संविधानविद्सँग परामर्श लिन काठमाडौंमा पुगेका छन् ।

एमाले नेता कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएकाले मुख्यमन्त्री थापा नेतृत्वको सरकारले ल्याउने प्रतिस्थापन विधेयक पारित गराएर प्रदेशलाई बजेट शून्यतामा जानबाट जोगाउने रणनीतिमा छन् । उनले प्रतिस्थापन विधेयकमा धेरै हेरफेर नगरी ल्याएको अवस्थामा प्रदेशसभाबाट पारित गराउन सहयोग गर्ने बताएका छन् । उपसभामुखलाई प्रदेशसभा बैठकमा अनुपस्थित गराएर मुख्यमन्त्री थापालाई विश्वासको मत लिन नदिने दाउमा छन् ।
उपसभामुख दनुवार अनुपस्थित रहेको अवस्थामा गठबन्धन दलका ४७ सांसदमध्ये एक जनाले बैठकको अध्यक्षता गर्नैपर्ने बाध्यता हुने हुँदा बहुमत नपुग्ने अवस्था निर्माण गर्ने दाउमा कार्की रहेको एमाले सांसदको भनाइ छ । उपसभामुख अनुपस्थित भए पद पनि जोगिने, मुख्यमन्त्री थापाले विश्वासको मत पनि नपाउने र त्यसपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सबभन्दा बढी सदस्य भएको दलको नेतामा कार्की पुनः मुख्यमन्त्री नियुक्त हुने योजना छ ।
उपसभामुखले पनि पदबाट राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । त्यसनिम्ति मुख्यमन्त्री थापाले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा बुधबार नियुक्त गरेका छन् । प्रदेशसभाको तथ्यांक हेर्दा प्रदेशसभाको ज्येष्ठता क्रममा १० जनाभन्दा बढी एमाले र राप्रपाका सांसद छन् ।
मुख्यमन्त्री थापाले प्रदेशसभालाई बिजनेस अभाव हुन नदिने प्रतिबद्धता जनाएपछि सभामुखको समेत भूमिकामा रहेकी उपसभामुख दनुवारले सोमबार सार्वजनिक सूचना जारी गरी भदौ १ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएकी छन् । बिहीबार दिउँसो २ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव ल्याउने अवस्थामा उपसभामुख दनुवार अनुपस्थित भइदिन सक्ने अवस्था रहेकाले सचिव पराजुलीले लिखित अनुमति लिएर प्रदेशसभा र परामर्श समितिको बैठक बोलाएका छन् । भदौ १ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची अहिले तय भइनसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । उपसभामुख दनुवारले प्रदेशसभाको बैठक बोलाएपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारीमा जुटे पनि विश्वासको मत लिने सूचना बुधबारसम्म नआएको प्रदेशसभा सचिव पराजुलीले बताए ।
तत्कालीन सत्ता साझेदार दल जसपा र माओवादीले २०८०/८१ को नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याउने अवस्थामा तत्कालीन मुख्यमन्त्री कार्की नेतृत्वले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । अल्पमतमा परेका कार्कीले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ गते अन्त्य गरी जेठ ३२ मा अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएका हुन् । तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन असार १४ गते बोलाएको प्रदेशसभा बैठकमा संविधानको धारा २०२ बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक वर्ष ०८०/८१ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेस गरेका थिए । अध्यादेश प्रदेशसभामा पेस भएपछि तत्कालीन सभामुख गौतमले दुवै अध्यादेश अस्वीकार गर्न चाहने प्रदेशसभा सदस्यलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम तीन दिनभित्र प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराउन समय दिएका थिए ।
उक्त समय सीमाभित्र गठबन्धन दल कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका छन् । यस्तै, माओवादीका नारायणबहादुर मगर, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र अहिलेका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले संयुक्त रूपमा अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका हुन् । अध्यादेश अस्वीकारको माग गर्दै प्रदेशसभा सचिवालयमा दुईवटा सूचना पत्र दर्ता भएको प्रदेशसभा सचिव पराजुलीले बताएका छन् ।
संविधानको धारा २०२ को उपधारा (२) को (ग) मा प्रदेशसभाको बैठक बसेको साठी दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार भदौ १० गतेसम्ममा प्रतिस्थापन विधेयक प्रदेशसभाबाट पारित गराई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत गराइसक्नुपर्छ र त्यस्तो नभए अध्यादेश स्वतः निष्क्रिय भई प्रदेश बजेट शून्यतामा जाने जोखिम छ ।
बजेटसम्बन्धी अध्यादेश निष्क्रिय भएको अवस्थामा प्रदेश बजेट शून्यतामा जाने र त्यसले प्रदेशभरिका मालपोत, यातायात व्यवस्था कार्यालय, वनलगायतका कार्यालयले प्रदेश सरकारको अधिकार क्षेत्रभित्रको कुनै पनि किसिमको कर असुली गर्न सक्दैन । यी कार्यालयको कामकाजसँगै प्रदेशवासीले प्राप्त गर्दै आएको सेवासमेत प्रभावित हुने जोखिम छ ।
प्रमुख सचेतक राई, माओवादी र एकीकृत समाजवादीले दर्ता गराएको बजेटसम्बन्धी अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता लिएर प्रदेशसभाको बैठकले स्वीकार गरेपछि मात्रै सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने कानुनी व्यवस्था छ । प्रदेशसभाबाट अध्यादेश अस्वीकृतको प्रस्ताव फिर्ता, प्रतिस्थापन विधेयक दर्ता, पारित र प्रमाणीकरणसम्मको प्रक्रिया पूरा गराउन न्यूनतम १० दिन समय आवश्यक रहेकाले मुख्यमन्त्री थापाले उक्त प्रक्रिया अघि बढाएर विश्वासको मत लिने प्रस्ताव ल्याउने तयारी गरेको कांग्रेसका एक सांसदले बताए ।
सत्ता गठबन्धनले राप्रपाको समर्थनबिना प्रतिस्थापन विधेयक र विश्वासको मत लिन खोजेका छन् । जसपा र एकीकृत समाजवादीको औचित्य सिद्धिनुका साथै माओवादीको आकर्षण घट्ने भएकाले गठबन्धन दलले राप्रपालाई सरकारमा सहभागी गराउन बल नगरेको गठबन्धन दलकै एक नेताले बताए । राप्रपा आएपछि साना दलहरूको मोलमोलाई शक्ति घट्ने भएकाले गठबन्धन दलबाटै बहुमत पुर्‍याएर अघि बढ्ने रणनीतिमा रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री थापाले आफूले विश्वासको मत नपाउने अवस्थामा प्रदेश मध्यावधि निर्वाचनमा जाने तर त्यसका लागि कोही तयार नभएकाले राप्रपाले आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्ने दाबी गरेका छन् । तर राप्रपाका प्रमुख सचेतक अमरबहादुर बिष्टले राप्रपाको अहिलेको प्राथमिकता सत्ता नभएको र गठबन्धनलाई समर्थन आवश्यक भएको भए त्यहीअनुसारको राजनीतिक एजेन्डा ल्याएर सहमति खोज्ने थियो तर त्यो नभएकाले अहिलेसम्म औपचारिक वार्तासमेत हुन नसकेको बताए ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले अहिलेको प्रदेशसभाको अंक गणितमा प्रत्येक दलको आ–आफ्नै सत्तास्वार्थ रहेको र त्यसैको सिकार प्रदेशसभा भएको बताए । ‘सत्तास्वार्थको बन्धनबाट प्रदेशसभालाई मुक्त गर्ने प्रमुख उपाय भनेको मिलिजुली सरकार नै हो,’ उनले भने, ‘प्रदेश संरचनाको विषयमा जुन किसिमको नकारात्मक भावनाको विकास भइरहेको छ त्यो विषयलाई पनि संघीयताको पक्षधर भन्ने राजनीतिक दलहरूले बुझ्नु आवश्यक छ, त्यो नभए जनताको धैर्यको बाँध फुट्न बेर लाग्दैन र त्यसको दुष्परिणाम सबै राजनीतिक दलले भोग्नुपर्छ ।’
उपसभामुख दनुवारले पदबाट राजीनामा नदिने र प्रदेशसभा सञ्चालन गर्ने प्रतिक्रिया दिँदै आएकी छन् । तर यसअघि तत्कालीन सभामुख गौतमले पनि पदबाट राजीनामा नदिने भन्दाभन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा राजीनामा दिएर अहिले आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । त्यसैले उपसभामुख दनुवार पनि पार्टीले भनेअनुसार अघि बढ्ने भएकाले उनको भनाइमाथि विश्वास गर्ने अवस्था नभएको एमालेका सांसदको भनाइ छ । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने सूचना बुधबार प्रदेशसभा सचिवलाई दिएको भए भदौ १ गतेको बैठकमा नै उपसभामुख अनुपस्थित भएर काठमाडौंमै बसिदिने तयारी रहेको ती सांसदले बताए ।
एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले समयअनुसार कानुनसम्मत ढंगले समस्याको निकास निकाल्दै अघि बढ्ने अवस्था रहेको प्रतिक्रिया दिए । मुख्यमन्त्री थापाले गठबन्धन दलसँग बहुमत ४७ सांसदको समर्थन रहेकाले विश्वासको मत र बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया सँगसँगै अघि बढाउने बताए । विश्वासको मतका लागि संवैधानिक र कानुनी प्रक्रियाअनुसार समयमा प्रदेशसभा सचिवालयलाई सूचना दिने तयारी गरेको उनको भनाइ छ ।

मुख्य पृष्ठ

मिटरब्याजीबाट १०५ बिघा जग्गा फिर्ता

- कान्तिपुर संवाददाता

(काठमाडौं)
मिटरब्याजसम्बन्धी कानुन बनेपछि पीडितको सुनुवाइले तीव्रता पाएसँगै १ सय ५ बिघा जग्गा फिर्ता भएको छ । साउन १२ मा विधेयक पारित भएपछि पीडितको उजुरीको मिलापत्र गर्ने र साहुले लिएको जग्गा फिर्ता हुने क्रम बढेको छ ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार हालसम्म २३ हजार ८ सय ७१ वटा निवेदन प्राप्त भएका छन् । यसमध्ये ३ हजार २ सय ६४ निवेदनमाथि अध्ययन, विश्लेषण र फर्स्योटको काम भइसकेको छ । कानुन बन्ने अघिल्लो दिनसम्म २ हजार ५ सय जनाको ५५ बिघा जग्गा पीडितलाई फिर्ता गरेकोमा मंगलबारसम्म ३ हजार २ सय ६४ जनाको १ सय ५ बिघा १० कट्ठा १७ धुर जग्गा आयोगले मिलापत्र गराएर फिर्ता गराएको छ । मिटरब्याजमा लगाउँदा अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने, लेनदेन नगरेको रकम दिएको भनेर लिखत तयार गर्ने, ब्याजलाई साँवामा जोडेर लिखत तयार गर्ने, ऋणको साँवाभन्दा बढी ब्याज लिनेलाई साउन १२ मा फौजदारी कसुरको व्यवस्था गरिएपछि पीडितको कब्जा भएको जग्गा फिर्ता हुन थालेको हो ।
आयोगका अनुसार रकमतर्फ साहु र ऋणीबीच १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ लेनदेन भएको लिखत कागजात छ । यो रकम बढाएर साहुले ऋणीसँग २ अर्ब ४२ करोड
२९ लाख मागेको देखिन्छ । मागिएको रकम ऋणी र साहुबीचको लिखतभन्दा १ अर्ब ३ करोड ५४ लाख बढी हो । तर आयोगले साहु र ऋणीबीच ९८ करोड ११ लाखमा सहमति गराई लेनदेन गर्ने व्यवस्था गरिदिएको छ ।
मिटरब्याजमा लगाएर असुलीका लागि शारीरिक, मानसिक असर गर्ने गरी धम्की दिने, हिंसा गर्ने, शोषण गर्ने, सम्पत्ति हडप्ने जस्ता कार्य गरेमा कसुरको गम्भीरता हेरी ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुन सक्ने प्रावधानको कानुन बनेसँगै पीडितलाई राहत भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । आयोगले ७७ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल र प्रहरी अधिकृतसमेत रहेको कार्यदल गठन गरेको छ । कार्यदलले पीडित र जनप्रतिनिधिको रोहबरमा मिलापत्र गराउन थालेको छ । ‘यसरी मिलापत्र गरी तीन हजार दुई सय निवेदन टुंगो लागिसकेको छ, मिलापत्रको काम जारी छ,’ कार्कीले भने, ‘ऋणीलाई धम्क्याउने, बोलाउँदा नआउने र अटेर गर्ने साहुलाई कानुनअनुसार मुद्दा चलाउने गरिएको छ ।’
पीडितलाई दुःख दिने साहुको सम्पत्ति छानबिन गरेर कारबाही गर्न सम्पत्ति शुद्धीकरणमा समेत सिफारिस गरिने उनले बताए ।

भर्खर पारित ऐनले सम्पत्ति शुद्धीकरणअनुसार कारबाही गर्ने बाटो खुलाएको छ । मिटरब्याजमा लगाउँदा ऋणीको अचल सम्पत्ति हक हस्तान्तरण गरेमा बदर हुने प्रावधान ऐनमा छ ।
आयोगमा २४ हजार जना मिटरब्याजपीडितले उजुरी दिएका छन् । मधेशका ८ जिल्लामा सबैभन्दा बढी १८ हजार ३ सय ५६ उजुरी परेको छ । पश्चिम नवलपरासीमा १ हजार ८ सय ८९ समेत गरी ९ जिल्लामा मात्रै २० हजार २ सय ४५ मिटरब्याजपीडित रहेको आयोगले जनाएको छ । मधेशमा पनि बारामा सबैभन्दा बढी मिटरब्याजपीडित छन् । आयोगका अनुसार बारामा ३ हजार ३ सय २२ पीडितले निवेदन दिएका छन् । आयोगले बारामा ५ सय १० जना पीडितको मात्रै निवेदनमा मिलापत्र गरेर टुंग्याएको छ । निवेदन दिए पनि आयोगले छलफलमा ढिलाइ गरेको गुनासोसमेत छ ।
बारा फेटा गाउँपालिका–४ जोतपुर गनरिहाका रामविलास ठाकुरले साढे दुई वर्षअघि ३३ लाख ऋण लिएकोमा साहुले ५२ लाख ब्याज मागेर साढे १३ कट्ठा जग्गा लिएका छन् । ‘हामीले साँवा चुक्ता गरिसक्यौं, तर तिर्नै नसक्ने ब्याज मागेर हाम्रो जग्गा फिर्ता गरेको छैन,’ साहुले मागेको ब्याज तिर्न काठमाडौंमा कपाल काट्ने पेसा गरिरहेका पीडितका कान्छा छोरा विशाल ठाकुरले भने, ‘साँवा तिरे पनि ब्याज बढेको बढ्यै छ, कसरी तिर्नु ? हामी १७ लाख ब्याज तिर्न तयार हुँदा पनि साहुले मानेको छैन ।’ जग्गा फिर्ता गरेर मिलापत्र गरिदिन आग्रह गर्दा पनि आयोगले सुनुवाइ नगरेको उनको गुनासो छ । ‘सबै निवेदन मिलापत्र गरेर टुंग्याउन चाहेका छौं,’ आयोग अध्यक्ष कार्कीले भने, ‘कुनै साहुले अचल सम्पत्ति फिर्ता नगर्ने, ऋणीलाई धम्क्याउने, हैरानी पार्ने, आयोगलाई अटेर गरेमा मुद्दा चलाउने प्रक्रिया अघि बढाउँछौं ।’
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएपछि साहुले ऋणीलाई दिएको ऋणको लिखत ६ महिनाभित्र स्थानीय तहमा प्रमाणीकरण गराउनुपर्ने हुन्छ । साहु एक्लैले पनि प्रमाणीकरण गराउन सक्ने कानुनी व्यवस्थाले साहुले पीडितलाई थप समस्यामा पर्ने पीडितको गुनासो छ । स्थानीयका पदाधिकारीलाई साहुले प्रभावमा पारेर लिखतमा सत्य रहेको भनेर प्रमाणीकरण गराउन सक्ने उनीहरूले आशंका गरेका छन् । ऐनमा दुईमध्ये एक पक्ष मात्रै उपस्थित भए पनि स्थानीय तहले जाँचबुझ गरेर लिखत सत्य रहेको प्रमाणीकरण गराउन सक्ने व्यवस्था छ । मिटरब्याजपीडितले यो व्यवस्था राख्नु गलत भन्दै विरोध गरिरहेका छन् । पीडित उपस्थित नभएपछि स्थानीय तहमा पहुँच भएका मिटरब्याजमा लगाउनेले जतिसुकै लेनदेनको कागज बनाएर पनि प्रमाणित गर्न सक्ने उनीहरूको आशंका छ ।

 

मुख्य पृष्ठ

५५ वर्षदेखि हाटबजार

(झापा)
भोजपुरको दलगाउँबाट लालाबाला च्यापेर तराई झापा झर्दा उनी पुग नपुग ३४ वर्षकी थिइन् । छोरीलाई स्कुल नपढाउने जमानाकी उनको बिहे २० वर्षकै उमेरमा भएको थियो । दुई छोरी च्यापेर ‘गरिखान’ ५६ वर्षअघि मधेश झरेको उनले सुनाइन् । त्यस बेला औलोको प्रकोप थियो । तर, उनलाई यसको परवाह भएन । एउटै चिन्ता थियो– ‘लालाबालासहित आफ्नो पेट कसरी पाल्ने ?’
धुलाबारीमा डेरा लिएर कामको खोजीमा भौंतारिइन् । एक दिन कसैले भनेछ, कसैको नोकरी गर्नुभन्दा आफैं व्यापार गरेको बेस । व्यापारका लागि पुँजी चाहिन्थ्यो । मजदुरी र सरसापटी गरेर केही रकम जुटाइन् । अनि थालिन्– चुरा, पोते, धागो र ढाका टोपीको व्यापार । ‘पैसा जुटाउन र व्यापार सिक्न एक वर्षजति लाग्यो,’ मेचीनगर–९ धुलाबारीकी ९० वर्षीया फूलमायाले युवा जोसका साथ ती दिन सम्झिइन्, ‘व्यापार सिक्नेबित्तिकै काम सुरु गरिहालें ।’
५ हजार लगानीबाट उनले व्यापार थालेकी थिइन्, धुलाबारी हाटमा । उनी यो हाटमा मात्रै सीमित रहिनन् । कहिले इलामको हर्कटे पुग्थिन् त कहिले फिक्कल ।

बाह्रघरे, गरुवा, शनिश्चरे, बाहुनडाँगी, बुधबारे, चारआलीजस्ता जिल्लाका चर्चित हाट उनले निरन्तर चहारिरहिन् । क्रमशः व्यापार सिक्दै गइन् । आम्दानी गर्दै गइन् ।
बदलिँदो समयसँगै त्यस्ता बजार संकटमा परे पनि गएको ५५ वर्षदेखि उनी नियमित हाट जान छाडेकी छैनन् । साप्ताहिक हाट बिस्तारै हराउँदै गएका छन् । सहर बढ्दै जाँदा सपिङ मल र व्यापारिक कम्प्लेक्स बढिरहेका छन् । ‘तर पनि म हाट धाउन छाडेकी छैन,’ धुलाबारीको सोमबारे हाटमा भेटिएकी उनले भनिन्, ‘पहिलाजस्तो व्यापार छैन ।’ उनी सोमबार र शुक्रबार धुलाबारी, आइतबार चारआली र बुधबार बुधबारे हाटमा पुग्छिन् । ‘सकुन्जेल व्यापार छोड्दिनँ,’ फूलमायाले सुनाइन्, ‘हिँड्नै नसकेका दिन हात उठाउँला ।’
उनका संघर्षका दिन भने जन्मेलगत्तैदेखि सुरु भएका हुन् । जब उनी एक महिनाजतिकी थिइन्, अचानक आगोको भुङ्ग्रोमा परिन् । दायाँ हात र खुट्टाका केही भाग जले । ‘मलाई कोक्रोमा राखेर दाइलाई बैनी हेर्दै गर्नु है भनेर छाडेर आमा दूध दुहुन जानु भएछ,’ उनले आफू अपांग बन्नुको कारण सुनाइन्, ‘आमा फर्किएर आउँदा त म रक्सी पार्न तयार पारेको भुङ्ग्रोमा परेकी रहेछु !’ त्यो समयमा न अस्पताल, न ओखतीमूलो, कसो कसो जडिबुटीले ज्यानसम्म जोगिएको उनले सुनाइन् । शारीरिक अशक्तताका बाबजुद यी कर्मशील आमाले व्यापारबाटै परिवार मात्रै धानेकी छैनन्, दुई छोरीको बिहे पनि गरिदिइन् । घर–जमिन जोडिन् । १० वर्षअघि पति बितेपछि उनी अहिले १२ वर्षे नातिको अभिभाकत्व सम्हालेर बसेकी छन् । तर, यो उमेरमा पनि उनले व्यापार गर्नचाहिँ छोडेकी छैनन् ।
थोरै लगानीको सानो व्यापारबाट गरेको आम्दानी जोहो गरेर उनले पहिला करिब डेढ कट्ठा जमिन किनिन् । पछि त्यही जमिनमा ४० लाख रुपैयाँजति खर्चेर घर बनाइन् । ‘५५ वर्षमा मैले कमाएको यत्ति नै हो,’ उनले भनिन्, ‘अब केही कमाउनु छैन मलाई ।’ धुलाबारी हाटका दिन उनी आफैं खाना पकाएर खाइबरी सबेरै पुग्छिन् । वर्षौंदेखि बस्दै आएको अड्डामा पहिला त्रिपाल बिछ्याउँछिन् । अनि, त्यसमाथि चुरा, पोते, धागो र ढाका टोपी क्रमैले मिलाएर राख्छिन् । पसलको मध्य भागमा पलेँटी कसेर ग्राहकको पर्खाइमा बसेपछि लामो सास तान्छिन् । ‘वैशाखदेखि व्यापार पूरै बिग्रिएको छ,’ भुइँमा राखेको ढाका टोपी मिलाउँदै उनले भनिन्, ‘कहिलेकाहीं त बोहनी पनि हुन गाह्रो हुन्छ ।’

म्यागेजिन

भू–राजनीतिको बदलिँदो एजेन्डा

- जगदीश्वर पाण्डे

(काठमाडौं)
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य भइरहेको छ । दाहाल असोज पहिलो साता उत्तरी छिमेकी देश जाने तय भएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा ऊर्जा सम्झौता, अन्तरदेशीय प्रसारण लाइन, विद्युत् आयोजना र कृषि उपज प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गर्ने तयारी भइरहेको बताए । भारतसँग ऊर्जा सम्झौता गरेको नेपालले अब चीनसँग पनि सोही प्रकृतिका सम्झौता गरेपछि नेपालबाट उत्पादन हुने विद्युत् व्यापार गर्ने बाटो दुवै मुलुकतर्फ खुल्ने अपेक्षा गरिएको छ ।
यसअघि गत जेठमा सम्पन्न दाहालको भारत भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले नेपालबाट खरिद गर्ने प्रारम्भिक समझदारी भएको थियो । दाहालको भ्रमणमा नेपाल र भारतबीचमा सीमा समस्या, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन र प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने लगायतका परम्परागत मुद्दा पनि थिए ।
तर, ती मुद्दालाई थाती राखेर गैरपरम्परागत मुद्दाहरू जस्तै ः ऊर्जा, व्यापार, पेट्रोलियम पाइप लाइन, रेलमार्ग, सडक, शिक्षा, विद्युतीय भुक्तानी लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भयो । दाहालको चीन भ्रमणका क्रममा पनि सन् २००८ देखि थाती रहेको संयुक्त रूपमा नियमित सीमा अवलोकन गर्ने मुद्दाभन्दा ऊर्जा, सहयोग, पूर्वाधार विकास लगायत विषयमा सहकार्य र सहमति हुने संकेत देखिन्छ ।
नेपालमात्र होइन, पछिल्लो समय दक्षिण एसियाली मुलुकहरूले पनि आर्थिक साझेदारीलाई प्राथमिकतामा राख्न थालेका छन् । नेपाल र बंगलादेशले पनि पावर ट्रेड एग्रिमेन्ट (पीटीए) खोजिरहेका छन् । यसका साथै दक्षिण एसियाली क्षेत्रमा भौतिक, हवाई, प्रसारण लाइन र जलमार्गको सम्पर्क लगायतका विषय आगामी दिनमा बढाउँदै लैजाने र यसले थप सहकार्यका लागि पक्कै पनि अवसर प्रदान गर्ने अपेक्षा छ । भारतबाट नेपालका लागि जलमार्गको ढोका खोल्ने विषय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा उठ्यो । काठमाडौंलाई रेलमार्गले जोड्ने योजना पनि छ । यसबाहेक उपक्षेत्रीय ढाँचामा बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) बीच सहकार्य गर्न अभ्यास भइरहेको छ । जसले पहिले नै यी देशबीच यातायात, विद्युत् र व्यापारका क्षेत्रमा सहयोग अभिवृद्धि गरिरहेको छ । यद्यपि, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निष्क्रिय अवस्थामा छ । तर, बीबीआईएन र बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) तहमा भएको संलग्नता बढ्दै गइरहेको छ । यसले के स्पष्ट पार्छ भने अब नेपालसहित अन्य मुलुकले पनि परम्परागत सुरक्षालाई भन्दा गैरपरम्परागत सुरक्षालाई महत्त्व दिँदै त्यहीअनुसार आफ्ना छिमेकी र क्षेत्रीय संगठनमा सहकार्य बढाउन खोजेको देखिन्छ ।
भूराजनीतिक तथा अवकाशप्राप्त उपरथी विनोज बस्न्यात अहिलेको विश्व परिवेशमा सुरक्षाको प्रकृति परिवर्तन भएसँगै यसमा अपनाइँदै आइरहेको शैलीमा पनि फरकपन आएको बताउँछन् । ‘पहिले परम्परागत सुरक्षाअनुसार मुलुकहरूबीचको सम्बन्ध निर्धारण हुन्थ्यो । परम्परागत सुरक्षा भनेको देश–देशबीच हुने लडाइँ, भूमि विवाद, स्रोत र साधनका विवादमा दुई देशका सेना लड्ने हुन्थ्यो,’ उनले भने, ‘गैरपरम्परागत सुरक्षा भनेको चाहिँ त्यसबाहेकका विपद् व्यवस्थापनदेखि जलवायु परिवर्तन, आतंकवाद, जंगल संरक्षण, पब्लिक कूटनीतिअन्तर्गत आउने विषय हुन् ।’
बस्न्यातले अहिले पारम्परिक सुरक्षाबाट गैरपारम्परिक सुरक्षामा विश्वकै भूराजनीति र द्विपक्षीय सम्बन्धहरू सिफ्ट भइरहेको प्रस्ट पारे । ‘उदाहरणका लागि अहिले रुस र युक्रेनबीच युद्ध भइरहेको छ । दुई देशबीचमा जुन किसिमबाट लडाइँ भए पनि जसरी युक्रेन र रुस सहयोग पाएर लडिरहेका छन्, यसलाई पनि गैरपरम्परागत सुरक्षाका रूपमा लिनुपर्छ,’ उनले भने, ‘आ–आफ्ना मित्रले युक्रेन र रुसलाई आवश्यक सामान दिएर लडाइँ लडिरहेका छन् तर मित्रराष्ट्रले आफ्नै मुलुकका सेना पठाएर लडेका भने छैनन् । प्रविधिको प्रयोगबाट हुने हाइब्रिड वारलाई पनि एक किसिमको गैरपरम्परागत सुरक्षाका रूपमा लिन सकिन्छ ।’
गैरपरम्परागत सुरक्षाका मुद्दामा पछिल्लो समय आएका अन्य महत्त्वपूर्ण मुद्दाहरू जलवायु परिवर्तन, सीमापार अपराध र आतंकवादका मुद्दा पनि हुन् । यसले नेपाल र दक्षिण एसियालाई समेत प्रभाव पार्छन् । यी मुद्दा पनि कुनै न कुनै रूपमा प्रमुख चुनौतीका रूपमा देखा परिरहेका छन् । गैरपरम्परागत सुरक्षामा आर्थिक मुद्दालाई लिएर नयाँ भूराजनीतिमा प्रभाव परिरहेको छ । गैरपरम्परागत सुरक्षाको कारणले गर्दा मुलुकहरूबीच सहयोगका सन्दर्भमा आफ्नै गतिशीलता सिर्जना गरिरहेको छ । महामारी, विपद् व्यवस्थापनजस्ता विषयका कारण देशहरूलाई मिलेर काम गर्नुपर्ने बाध्यता छ । जलवायु परिवर्तनले समुद्री क्षेत्र र हिमाली क्षेत्रमा बढी प्रभाव पार्छ । मुलुकहरूबीचमा द्विपक्षीय सम्बन्ध बलियो बनाउन महामारी, जलवायु परिवर्तन, सीमापार अपराध, आतंकवाद लगायतका मुद्दामा बहुपक्षीय रूपमा सहकार्य र सहयोग आदानप्रदान हुन जरुरी छ ।
अहिले विश्वभर परम्परागत सुरक्षा नपुगेर अर्को नयाँ विशेषताका रूपमा गैरपारम्परिक सुरक्षाको अवधारणा आएको राजनीतिशास्त्रकी प्राध्यापक मीना वैद्य मल्ल पनि मान्छिन् । उनले पनि पारम्परिक सुरक्षालाई राष्ट्रिय सुरक्षाका रूपमा परिभाषित गरिन् । ‘पारम्परिक सुरक्षाले आफ्नो भूभाग सुरक्षित भयो भने जनता र राष्ट्र सुरक्षित हुन्छन् भन्ने रहेछ । मुलुकको चारै भूभाग सुरक्षित छ भने देश सुरक्षित छ भन्ने हो,’ उनले भनिन्, ‘तर, देशको प्रारम्भिक वा राष्ट्रिय सुरक्षाले नपुगेपछि नयाँ विशेषतासहितको सुरक्षाको कुरा आएको हो । त्यो नयाँ खालको सुरक्षा भनेको मानव सुरक्षा हो । अब भूभाग सुरक्षित भयो भन्दैमा राष्ट्रिय सुरक्षा हुन्छ भनेर पुग्दैन ।’ उनले मानव सुरक्षाका थुप्रै पक्षहरू रहेको बताइन् । ‘उदाहरणका लागि जलवायु सुरक्षा, खाद्य, स्वास्थ्य, लैंगिक, राजनीतिक तथा आर्थिक सुरक्षा मान्छेलाई चाहिन्छ । जब सबैतिरबाट सुरक्षित छ भने मात्र राष्ट्र सुरक्षित हुन्छ भन्ने अवधारणा मानवीय सुरक्षाले थपेको हो,’ उनले थपिन्, ‘त्यसकारण सीमाहरू मात्र सुरक्षित भएर राष्ट्र सुरक्षित हुन्छ भन्ने होइन । मानवीय सुरक्षाका पाटोहरू सुरक्षित भएमात्र राष्ट्र र त्यहाँका नागरिक सुरक्षित रहन्छन् । त्यहीबाट गैरपारम्परिक सुरक्षाको महत्त्व बढेको हो ।’
शक्तिशाली मुलुक र नेपालका छिमेकीले समेत गैरपरम्परागत सुरक्षालाई जोड दिएको देखिन्छ । भारतले छिमेकी नीति भन्दै ऊर्जा, पूर्वाधार, आर्थिक सहकार्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । साथै, चीनमा राष्ट्रपतिका रूपमा सन् २०१३ मा सी चिनफिङ आएपछि बेल्ट एन्ड रोड इनिसिएट (बीआरआई) को सुरुआत गरे । सडक र समुद्रमार्फत चीनलाई संसारसँग जोड्ने तथा पूर्वाधार, विकास र गरिबी निवारणजस्ता कार्यमा अन्य मुलुकलाई सहयोग गर्ने भन्दै बीआरआईलाई अघि बढाइएको छ । साथै, चीनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभ (जीसीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स (जीएसआई) जस्ता नयाँ विषयलाई नयाँ सुरक्षाका औजारका रूपमा प्रयोग गरिरहेको छ । साथै, अमेरिकाले ल्याएको इन्डो प्यासिफिक रणनीति तथा नेपालको ऊर्जा र पूर्वाधार विकासमा अमेरिकाले दिएको ५०० मिलियन अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पनि नयाँ गैरपरम्परागत सुरक्षा हो ।
भूराजनीतिक मामिलाका जानकार बस्न्यात वातावरणले गर्दा संसारभर धेरै विपद् आएपछि त्यसलाई सम्बोधन गर्नका लागि नयाँ रणनीति अपनाउनुपर्ने मान्छन् । ‘नेपाल पानी, ऊर्जा, सिँचाइ लगायतका महत्त्वपूर्ण स्रोतसाधनमा धनी छ । सबैको ध्यान नेपालका यिनै विषयमा बढी केन्द्रित भएको छ,’ उनले भने, ‘नेपालको बलियोपन, संसारको भोलिको चुनौती र संकट पनि नेपालको स्रोत र साधनमै रहेका कुरा हुन् । त्यस कारण नेपालसँग यी चिजमा कसरी सम्झौता गर्ने भन्ने नै हो । नेपालका प्रधानमन्त्रीको चीन भ्रमण हुँदा पनि यिनै विषयमा कुरा हुन्छन् होला ।’ नेपालको स्रोत साधनलाई नेपालले प्रयोग गर्न सक्षम छैन भने हामीलाई त त्यो चाहिन्छ भन्दै छिमेकीको चासो हुने बस्न्यातको दाबी छ । ‘गैरपरम्परागत सुरक्षामा सिधा द्वन्द्व भयो भने अर्को हिसाबबाट समस्या हुन्छ,’ उनले भने, ‘अहिले विश्वमा यस्तै परिस्थिति देखिएको र नेपालमा पनि त्यसको प्रभाव परेको हो ।’
नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) सत्ता नेतृत्वमा आएपछि नेपाल र क्षेत्रीय सहयोगको सन्दर्भमा केही महत्त्वपूर्ण परिवर्तनहरू देख्न थालिएको छ । भाजपा र नेपालका राजनीतिक पार्टीहरूबीच सहकार्य बढिरहेको छ । त्यसैगरी नेपालसहित दक्षिण एसियामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आफ्नै पहलमा यहाँका दलहरूसँग सहकार्य गरिरहेको छ । साथै, चीनले नेपालको संघीय संसद्सँगको सहकार्यलाई पनि अघि बढाएको छ । जुन परम्परागत सुरक्षाको शैलीभन्दा बिलकुल फरक हो । वास्तवमा परम्परागत र गैरपरम्परागत मुद्दामा चीन र भारतबीचको व्यवहारले परिवर्तन ल्याएको देखिन्छ । कोभिड–१९ र श्रीलंकामा आएको आर्थिक संकटको समयमा विभिन्न देशले एकअर्कालाई सहयोग गरे । द्विपक्षीय वा बहुफक्षीय अन्तर्त्रियाहरू पनि भू–राजनीतिक लाभको विन्दुबाट भएको देखिन्छ । कहिलेकाहीं गैरपरम्परागत सुरक्षा मुद्दाले परम्परागत सुरक्षा मुद्दालाई ओझेलमा पार्न सक्छ । जसले गर्दा भविष्यमा परम्परागत सुरक्षाभन्दा बढी प्राथमिकता गैरपरम्परागत सुरक्षा मुद्दाले त पाउने होइन भन्ने प्रश्न पनि उठ्न सक्छ ।

 

Page 2
म्यागेजिन

‘यो फोर्थ वर्ल्ड जियोपोलिटिक्स हो’

- कान्तिपुर संवाददाता

चन्द्रदेव भट्ट
भूराजनीतिक जानकार

परम्परागत सुरक्षा भनेको देशसँग जोडिएको र गैरपरम्परागत सुरक्षाचाहिँ जनतासँग जोडिएको विषय हो । जलवायु परिवर्तन, महामारी, आर्थिक संकट, विदेशी सहयोग, आतंकवादजस्ता कुरा गैरपरम्परागत सुरक्षाका विषय हुन् । पछिल्लो समय नेपालकै परिवेशमा भन्दा परम्परागत सुरक्षाभन्दा गैरपरम्परागत सुरक्षा नै हावी भएको देखिएको छ । परम्परागत सुरक्षा भनेको भूभागसँग जोडिएको हुन्छ । यी पारम्परिक लडाइँका कुरा भए । एउटा देशले अर्को देशसँग सिधै झगडा गर्ने भयो । उदाहरणका लागि भारत र पाकिस्तानबीचमा परम्परागत सुरक्षाका विषय छन् । ती हुन्, सीमा र भूमि विवाद ।
गैरपरम्परागत कुरामा जलवायु परिवर्तन, सीमापार अपराध, आतंकवाद लगायतले मुलुकभित्र नै सुरक्षाका चुनौती ल्याउन सक्छन् । धार्मिक दंगाहरू, राष्ट्र र राज्यबीचमा हुने द्वन्द्वहरू पनि यसका पक्ष हुन् । यसलाई ‘फोर्थ वर्ल्ड जियोपोलिटिक्स’ भनिन्छ । यो गैरपरम्परागत सुरक्षा हो । खाद्य संकट, स्वास्थ्य महामारी, जलवायु परिवर्तन, जनसंख्या वृद्धिले ल्याउने चुनौतीहरू, राज्यले रोजगार दिन नसके वा राम्रोसँग आफ्ना जनतालाई हेर्न नसके अन्य धेरै किसिमका चुनौती देखा पर्छन् । विदेश नीतिमा आर्थिक सहयोगले गर्दा ल्याउने चुनौतीले गर्दा पनि अलग किसिमका समस्या आउँछन् । पछिल्लो समय नेपालका दुई छिमेकी भारत र चीनबीच धेरै फरक छैन । त्यहाँ सीमाका समस्या होलान् । हाम्रोमा बढी आएको भनेको गैरपरम्परागत सुरक्षा हो । साइबर अपराध चीन र भारतसँग पनि जोडिएको छ । शरणार्थी संकटले गर्दा पनि फरक सुरक्षा चुनौती ल्याउँछ ।
पछिल्ला दिनमा हामीले चीन र भारतसँगका पारम्परिक सुरक्षाका विषय अगाडि बढाएका छैनौं । तर, अन्य गैरसुरक्षाका क्षेत्रमा अघि बढिरहेका छौं । उदाहरणका लागि भारत र चीनसँग हाम्रो सीमा सम्बन्धमा गर्नुपर्ने काम धेरै छन् तर दुवै छिमेकीले अन्य क्षेत्रहरू ऊर्जा, जलवायु, पूर्वाधार, शिक्षा, पार्टीगत सम्बन्धलगायत विषयमा जोड दिएर अघि बढेका छन् । उनीहरूले सार्वजनिक कूटनीतिलाई महत्त्व दिएका छन् ।
विश्वका चुनौतीहरू हेर्नु भयो भने गैरसुरक्षाका सम्बन्धमा ठूलो भूमिका छ । यसले पारम्परिक सुरक्षालाई ओझेलमा पारेको देखिन्छ । चीन र भारतसँगको सम्बन्ध विद्यार्थी, राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्र तथा क्षेत्रीय तहमा छन् । गैरपरम्परागत सुरक्षालाई समयमै हल नगरेमा त्यसले लामो समयसम्म प्रभाव पार्ने निश्चित छ ।
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा जति–जति सहकार्य बढ्दै जान्छ, दुई मुलुकलाई त्यत्तिकै नजिक पनि ल्याउँछ । अर्को त्यसले मुलुकहरूबीच फरक किसिमको चुनौती पनि सिर्जना गर्छ । त्यस्ता चुनौतीलाई सही ढंगबाट सम्बोधन गर्न सकिएन भने त्यसले गैरपारम्परिक सुरक्षाका समस्या ल्याउन सक्छ । अब नेपालको राष्ट्रिय समस्या नेपालको मात्रै रहेन, विश्वकै समस्या भयो । जसरी पछिल्ला दिनमा समावेशिता, न्याय, मानव अधिकार, लैंगिकतामा न्यायको जुन कुरा छ, यी विषय ग्लोबल हुन् । किनभने, हामीले संयुक्त राष्ट्रसंघ (यूएन) को सिद्धान्तप्रति प्रतिबद्धता जनाएका छौं र विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता पनि गरेका छौं । ती विषयहरू सीमाविहीन मुद्दा हुन्, गैरपरम्परागत विषय हुन् । सीमासँग जोडिएको विषयचाहिँ पारम्परिक सुरक्षा हो ।

Page 3
समाचार

एमालेमा फरक मत निषेध !

- गंगा बीसी

(काठमाडौं)
यही साता एमालेको नीतिमाथि सार्वजनिक रूपमा फरक मत राखेका कारण स्थायी कमिटी सदस्य मणि थापालाई पार्टीले ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको छ । ‘म केही महिनादेखि बिदामा बसेको थिएँ, कहिलेकाहीं आफूलाई सही लागेको कुरा सार्वजनिक रूपमा बोल्दै आएको छु,’ स्पष्टीकरण सोधिएको बारे उनले भने, ‘पार्टीमा विभिन्न प्रश्नोत्तर चलिरहन्छ ।’
थापालाई जस्तै एमालेमा मत निषेधको अर्को उदाहरण भीम रावल हुन् । २०७८ मंसिरमा चितवनको सौराहामा भएको १० औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण रावलले कुनै जिम्मेवारी पाएका छैनन् । महाधिवेशनपछि उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा उनले मंगलबार पहिलो पटक ओलीसँग भेटघाट गरे । ‘सामान्य राजनीतिक कुराकानी भयो, ठोस कार्यसूची थिएन,’ रावलले भने, ‘फरि कुरा गरौंला भन्दै उठ्यौं ।’
रावल हाल एमालेको साधारण सदस्य मात्रै छन् । सौराहा महाधिवेशनपछि पार्टी सामूहिक नेतृत्वमा चलेको महसुस नभएको उनको बुझाइ छ । ‘राष्ट्र, जनता, विधि, पद्धतिका बारे कुनै बेला पार्टीमा व्यापक छलफल र बहस हुने गर्थ्यो । कुनै पनि निर्णयमा न्यून त्रुटि होस् भन्ने थियो,’ उनले भने, ‘अहिले एमालेमा त्यो प्रक्रिया टुटेको छ ।’ मार्क्सवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा लिएको पार्टीमा फरक मत राख्न पाउनु सामान्य विषय भए पनि एमालेमा त्यो परम्परा हराउँदै गएको उनको बुझाइ छ । ‘वाद, विवाद, प्रतिवाद, संवाद हुनु मार्क्सवादको सामान्य नियम हो । तर एमालेमा यो विधि अत्यन्त कमजोर भएको छ,’ उनले थपे ।
एमालेभित्र यस्तो महसुस गर्ने उनी एक्ला हैनन् । अधिकांश बोल्दैनन्, रावल बोल्छन् । सौराहा महाधिवेशनपछि पार्टीमा फरक मत राख्न निषेध जस्तै छ । यसले एमालेभित्र आन्तरिक लोकतन्त्र ‘कोमा’ मा पुगेको स्पष्ट संकेत देखिएको छ । कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्वको निर्णयविरुद्ध अरू नेताका फरक मतमा बहस हुन छोड्नु निरंकुश कार्यशैलीको जोखिम रहेको राजनीतिक विश्लेषक बताउँछन् । अध्यक्ष ओलीको कार्यशैलीका कारण कुनै पनि नेताले फरक मत राख्ने अवस्था छैन । फरक मत राखेर कारबाहीको हिस्सेदार हुने भएकाले कसैले पनि उनको कार्यशैलीविरुद्ध प्रश्न उठाउन सकेका छैनन् ।
संसद् अवरोधमा समेत ओलीले एकल निर्णय गरी सुनाउने गरेका छन्, त्यसलाई सांसद, नेता तथा कार्यकर्ताले वकालत गर्दै हिँड्नुपरेको छ । संघीय संसद्का दुवै सदन साउन महिनाभर एमालेका कारण अवरुद्ध छ । बैठक बसे पनि एमालेका सांसद नाराबाजी र वेल घेराउमा उत्रिने भएपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर स्थगित गरिदिए । संसद्को चालु अधिवेशनमा एमालेले प्रधानमन्त्रीको राजीनामा तथा बजेटका सम्बन्धमा अर्थमन्त्री प्रकाशशरण महतको जवाफ मागेर अवरुद्ध गर्‍यो भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति मागेर चल्न दिइरहेको छैन ।
प्रधानमन्त्री दाहालले असार १८ मा एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर असार २० देखि २५ सम्म प्रतिनिधिसभा र राष्ट्रिय सभा चलेन । दाहालले प्रतिनिधिसभामा जवाफ दिएपछि एमाले राजीनामाबाट पछि हट्यो । यस प्रकरणमा राष्ट्रिय सभामा पनि राजीनामा मागिएको थियो । तर, त्यहाँ त एमालेले प्रधानमन्त्रीको जवाफसम्म मागेन, असार २५ मा प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई जवाफ मानेर बसिदियो । त्यसअघि जेठ १० मा माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर पनि एमालेले संसद् अवरोध गर्‍यो । पशुपतिनाथ मन्दिर जलहरी राख्ने क्रममा सुनमा भ्रष्टाचार गरिएको दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन लगाएर संसद् खोलियो । महालेखा परीक्षकको प्रतिवेदनमा लेखिएको कुरा उल्लेख गरेर सांसद दाहाल बोलेका थिए । संसद्को रेकर्डबाट दाहालको भनाइ डिलिट गरेको केही दिनमा पशुपतिनाथको जलहरी निकालेर सुन तौलियो र राखिएको भनिएको परिमाण पुगेको कुरा अख्तियारले दियो ।
एमाले अध्यक्ष ओलीले संसदीय दलको जेठ पहिलो साताको बैठक (जेठ ६) मा पार्टीका सांसदलाई भनेका थिए, ‘विचार, तरिका, प्रस्तुति नयाँ छैन भने पार्टी पुरानो हुन्छ । संसद्मा हाम्रो उपस्थिति लुलो–लुलो भयो, नुन खाएको कुखुराजस्तो । एमाले किन ओइलाए–ओइलाए जस्तो ?’ त्यसपछि संसद्मा नाराबाजी लगाउने, स–सानो कुरामा पनि वेल घेराउ गर्न काम भइरहेको छ । एमालेकै कतिपय नेताहरूका अनुसार पार्टीमा सल्लाह गरेर कुन प्रकरणमा कसरी जानेभन्दा पनि ओलीले निर्देशन दिएपछि ‘प्रतिरक्षामा उत्रिनुपरेको’ छ । सुन तस्करी प्रकरणमा पनि ओलीले सुरुमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा मागेर संसद्मा प्रस्तुत हुनुपर्ने पक्षमा थिए । उनलाई शीर्ष नेताहरूले राजीनामा माग्दा प्रधानमन्त्री दाहालको राजीनामा मागेजस्तो पूरा नहुने भएकाले उच्चस्तरीय छानबिन समिति माग गर्न पुगेका हुन् । संसदीय दलमा नेताहरूसँग सल्लाह र परामर्श गरेर भन्दा पनि आफूलाई लागेको कुरा प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेर चल्दै आएका छन् ।
कम्युनिस्ट पार्टीमा ‘जनवादी केन्द्रीयता’ लाई आन्तरिक लोकतन्त्रका रूपमा मानिन्छ । तर एमालेमा सौराहा महाधिवेशनपछि जनवादी केन्द्रीयता हराएको छ । ओलीको नेतृत्वमा जनवाद अर्थात् आन्तरिक लोकतन्त्र निषेध भइसकेको एमालेभित्रै प्रश्न उठ्न थालेको छ । ‘एमालेमा जनवादी केन्द्रीयता छैन,’ पार्टीकै एक पदाधिकारीले भने, ‘अध्यक्ष ओलीले जे भन्यो, त्यही निर्णय हुन्छ ।’ हाल एमालेमा चिनियाँ कम्युनिस्ट पार्टीको जस्तो केन्द्रीयता लागू भएको उनले बताए । ‘फरक मत राख्यो कि पार्टीभित्र अप्ठ्यारोमा पर्ने अवस्था छ,’ उनको भनाइ छ, ‘पार्टीभित्र जनवादी केन्द्रीयताको अभ्यास हुन नसक्नु दुर्भाग्य हो ।’
एमालेको विधानमा भने पार्टीमा लोकतान्त्रिक पद्धतिको अभ्यास गर्ने प्रावधान छ । ‘यस पार्टीका सबै सदस्यहरू समान छन् । पार्टीको सार्वभौम अधिकार सदस्यहरूमा निहित हुनेछ । यसको प्रयोग विधानअनुसार हुनेछ । यो जनआधारित कार्यकर्ता पार्टी हो । पार्टी निर्माण र सञ्चालनमा लोकतान्त्रिक पद्धति अवलम्बन गरिनेछ,’ विधानको प्रस्तावनामा भनिएको छ, ‘यस पार्टीले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त अवलम्बन गर्नेछ र स्वतन्त्रता र अनुशासनबीच सन्तुलन कायम गर्नेछ ।’
माधवकुमार नेपाल (महासचिव) को नेतृत्वमा एमाले हुँदा ओली ‘सदाबहार’ विपक्षी थिए । उनले मुख्य नेतृत्वको निर्णयप्रति असहमति राख्थे । एमालेका एक वरिष्ठ नेताका अनुसार नेपालले ओलीलाई बैठकमा बोल्न १० मिनेट दिएका हुन्थे । तर, ओलीले ‘पार्टीमा फरक विचारको सम्मान हुनुपर्छ’ भन्दै दुई घण्टा बोल्थे । ओलीले १० औं महाधिवेशनपछि बैठकमा घण्टौं बोल्छन्, अरूले सुन्छन् । अरूलाई फरक मत राख्ने मौका नै दिँदैनन् । नवौं महाधिवेशन (२०७० पुस) बाट ओली पार्टी अध्यक्ष निर्वाचित भएपछि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराईले फरक मत राख्थे । गत चुनावछि नेपाल, खनाल, गौतम, भुसाल बाहिरिइसकेका छन् । एमाले विभाजन हुनुअघि १० भाइको नामले चिनिने नेताहरू उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेता एमालेमै भए पनि फरक मत राख्न सक्ने अवस्थामा छैनन् ।
ओली प्रधानमन्त्री भएका बेला दुई पटक (५ पुस ०७७ र ८ जेठ ०७८) संसद् विघटन गरी अस्थिरताको बीउ रोप्ने कदम उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेललाई गलत लागेको थियो । तर उनीहरूले पार्टी वा सार्वजनिक रूपमा फरक मत राख्न सकेनन् । संसद् विघटनको विरोध गर्ने नेता माधवकुमार नेपालको समूह केही समयपछि अलग भयो । उक्त समूहले २०७८ वैशाखमा एकीकृत समाजवादी गठन गर्‍यो । हाल समाजवादीका महासचिव घनश्याम भुसालले मंसिरको आम निर्वाचनसम्म एमालेमै रहेर फरक मत राखेका थिए ।
एमालेले आम निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकेन । दुई पटक संसद् विघटन गर्ने कदमले एमालेमाथि राजनीतिक अस्थिरता ल्याउन खोजेको प्रश्न उठ्यो । तर ओलीले तत्कालीन नेकपामा अल्पमतमा परेपछि संसद् विघटन गरी आफ्नो अस्तित्व जोगाए । एक एमाले नेताका अनुसार संसद् विघटन असंवैधानिक थियो भन्ने ओलीले अझै स्वीकार गरेका छैनन् । आम निर्वाचनपछि एमाले र माओवादीबीच सत्ता सहकार्य टुट्नुको एउटा कारण ओलीको त्यही संसद् विघटनको कदम पनि थियो । पुस दोस्रो साता एमाले–माओवादी समीकरण बनेपछि ओलीले संसद्मा बोल्ने क्रममा विघटन सही भएको बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल झस्किएका थिए । ‘ओलीजीले संसद् विघटन सही भनिदिएपछि यो गठबन्धन लामो जाँदैन भन्ने लागिसकेको थियो,’ दाहालले सार्वजनिक रूपमै बताइसकेका छन् ।
एमालेका एक पदाधिकारीले भने ओलीको हठी कार्यशैलीका कारण पार्टीले गति लिन नसकेको बताए । ‘अध्यक्षले पार्टीलाई आफ्नो इच्छाअनुसार चलाउँदा क्षति भइरहेको छ । चुनावमा भनेजस्तो परिणाम आएन । चुनावपछि माओवादीसँग बनेको गठबन्धन पनि भत्कियो,’ ती पदाधिकारीले भने, ‘पछिल्लो समय पार्टी सामूहिक निर्णयले चलेको छैन ।’
एमाले नेता टंक कार्की एमाले, माओवादी र कांग्रेसका प्रमुख नेतृत्वमा सामन्ती संस्कार हाबी भइसकेको बताउँछन् । ‘पार्टी मेरो एक्लो पौरखले बनेको छ, अरू केही होइनन् भन्ने सामन्ती संस्कार प्रमुख नेतामा देखिन्छ,’ उनले भने, ‘प्रमुख नेताले लिएको निर्णयमा अरूले निःसर्त समर्थन गर्नुपर्छ भन्ने मनोलिथिक (अखण्ड) मनोविज्ञान छ ।’ उनले नेपालका कम्युनिस्ट पार्टीमा ‘यस म्यान’ नेता–कायर्कर्ता उत्पादन हुँदै जानु दुर्भाग्य भएको बताए । ‘पार्टीमा यस म्यान हुनु भनेको नेतृत्व निरंकुश हुनु हो,’ उनले भने, ‘यथार्थमा सामूहिक निर्णय देखाउने दाँत जस्तो भएको छ ।’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा जनवादी केन्द्रीयताको राम्रो बहस भएको दाबी गरे । कुनै पनि मुद्दा सामूहिक निर्णयका आधारमा निष्कर्षमा पुगेको उनको भनाइ छ । ‘पार्टीमा अध्यक्ष शक्तिशाली हुन्छ तर निर्णय भने सामूहिक निर्णयका आधारमा हुन्छन्,’ उनले भने, ‘आन्तरिक बैठकमा व्यापक छलफल भएर मात्र निर्णय हुँदै आएका छन् ।’ एमाले प्रवक्ता राजेन्द्र गौतमले पनि फरक विचार राख्दैमा निषेधको राजनीति पार्टीमा नरहेको दाबी गरे । ‘मणि थापाजी बिदा लिएर साहित्य सिर्जनामा लाग्छु भन्नुभएको थियो, पार्टी काममा नआउनु भएकाले महासचिवले उहाँसँग कुरा गर्नुहुन्छ,’ उनले भने, ‘फरक विचार राख्दैमा स्पष्टीकरण सोध्ने कुरा हुँदैन ।’
मुख्यगरी ओलीको आत्मकेन्द्रित कार्यशैलीका कारण दुई तिहाइ बहुमतको सरकार विघटन भएको राजनीतिशास्त्रीको बुझाइ छ । ‘एमाले महासचिव माधवकुमार नेपाल हुँदा ओलीले आन्तरिक लोकतन्त्रको कुरा गरे तर आफू नेतृत्वमा आइसकेपछि त्यो लोकतन्त्र हैकमवादमा परिणत गरे,’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले भने, ‘एमालेमा धक्का लागोस्, नलागोस्, त्यसमा ओलीको ध्यान देखिँदैन । ओलीले नेतृत्व गरेको दुई तिहाइको सरकार कहाँ पुग्यो ?’ संसद् विघटन गरी ओलीले आफ्नो अस्तित्व बचाउन ‘असंवैधानिक कदम’ चालेको उनको भनाइ छ । ‘पार्टीमा फरक विचारमाथि छलफल गरी उत्तम विकल्पको निर्णय गरिन्छ,’ उनले भने, ‘एमालेमा फरक विचार राख्न एक हिसाबले अघोषित प्रतिबन्ध छ । चित्त नबुझे पनि नेताहरू ओलीको मुडअनुसार बोल्नुपर्ने बाध्यता छ ।’
तत्कालीन नेकपामा अध्यक्ष पुष्पकमल दाहालले ओलीले बहुमतको निर्णय नमानेको भन्दै १९ बुँदे लिखित प्रस्ताव राखेका थिए । २०७७ कात्तिकमा उनले ओलीको कार्यशैली निरंकुश भएको आरोप लगाए । जुन कुरा हाल एमालेका नेताहरूले अनौपचारिक रूपमा बताउँछन् । ‘कमरेड ओलीको सोच र कार्यशैली कम्युनिस्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरूको विल्कुलविपरीत छ । बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नुपर्छ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन्,’ दाहालको आरोप थियो, ‘स्पष्ट छ कि यस प्रकारको सोच र शैलीको कम्युनिस्ट पार्टीको सिद्धान्त श्रमजीवी वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ ।’
ओलीले यो आरोपको लिखित रूपमै लामो जवाफ लेखेका थिए । २०७७ कात्तिकमा विधान महाधिवेशनले पारित राजनीतिक प्रतिवेदनमा उनले दाहालले पार्टी कब्जा गर्न प्रयास गरेको आरोप लगाए । ‘२०७७ कात्तिक २८ गते केन्द्रीय सचिवालयको बैठकमा प्रचण्डद्वारा पार्टी अध्यक्षविरुद्ध अचानक, गम्भीर राजनीतिक र फौजदारी अभियोगसहित आरोपपत्र वितरण गरियो । उक्त लिखत वस्तुतः पार्टी विभाजनको औपचारिक घोषणा थियो,’ ओलीको दस्ताबेजमा उल्लेख छ, ‘यो कदम महाधिवेशनका लागि चार महिना पनि नकुरेर, त्यसभन्दा अगावै घेराबन्दी, जोडघटाउ तथा षड्यन्त्रका बलमा नेतृत्व हत्याउने प्रयास थियो ।’

समाचार

संसद् खुलाउन राष्ट्रपतिको सक्रियता

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसद्को अवरोध खुलाउने विषयमा सहजीकरण गरेका छन् । त्यसअघि पनि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । पौडेलले संसद्को अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउने मनस्थितिसमेत बनाइरहेको शीतल निवास स्रोतले बतायो ।
लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसद्प्रति जनतामा नकारात्मक प्रभाव पर्ने भन्दै पौडेलले एमाले अध्यक्ष ओलीलाई जिम्मेवारी भइदिन आग्रह गरेका छन् । ओलीले सत्तारूढ दलसँग राख्दै आएको न्यायिक जाँचबुझ आयोग गठनको विषय राष्ट्रपतिसँग पनि राखेका थिए । ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । राष्ट्रपतिले संसद् खोल्दा राम्रो हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनें,’ ओलीले भने, ‘संसद् अवरोध गर्नु हुँदैन, सत्तापक्षले जबर्जस्ती संसद् अवरोध गरिरहेको छ, अवरोध सत्तापक्षले खुलाउनुपर्छ भनें ।’
राष्ट्रपति पौडेलले २४ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर ठूलो दलको हैसियतले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिन आग्रह गरेका थिए । ‘दलहरूबीच सहमति नजुटेपछि राष्ट्रपतिले सर्वदलीय बैठक राखेर छलफल गर्न खोज्नुभएको छ । बिहीबार उहाँका पूर्वनिर्धारित कार्यक्रम छन् । सम्भवतः त्यसपछि सर्वदलीय बैठक राख्नेबारे छलफल भइरहेको छ,’ शीतल निवास स्रोतले भन्यो ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्ताघटक शीर्ष नेताको बैठकले अवरोध खुलाउन सबै पक्षसँग गम्भीर छलफल गर्ने निर्णय लिएको छ । तर, सहमतिका लागि ठोस प्रस्ताव अघि सार्न सकेको छैन । ‘संसद् खोल्ने विषयमा कुराकानी भइरहेका छन् । एमालेसँग कुरा गर्न नेताहरूले समन्वय गर्नुहुनेछ,’ बैठकपछि कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भने, ‘त्यसपछि एमालेसहित बैठक बसेर समझदारी बनाउने प्रयत्न रहन्छ ।’
सरकारका अर्का एक मन्त्रीका अनुसार साउन २२ को छलफलका आधारमा साउन २३ को बैठकले सदनको अवरोध खुलाउने विषयमा सत्ता र प्रतिपक्षबीच अनौपचारिक समझदारी बनाएको दाबी सत्ता घटक नेताहरूको छ । साउन २३ को बैठकमा दलीय आधारमा एक/एक जना सांसदले बोल्ने र गृहमन्त्रीले जवाफ दिएपछि संसद् नियमित कार्यसूचीमा अघि बढ्ने समझदारी गरेर ओली बालुवाटारबाट निस्केको समाचार बाहिरिएको थियो । ‘बालुवाटारबाट सहमति गरेर निस्केपछि संसद् भवन बानेश्वर पुग्दा नपुग्दै त्यो सहमतिबाट ओलीजी किन र कसरी पछि हट्नुभयो, हामीलाई शंका लागेको छ,’ ती मन्त्रीले भने, ‘संसद्लाई अनन्तकाल बन्धक बनाएर कतै राजनीतिक कोर्सलाई अर्को बाटोमा लैजाने ओलीजीको प्रयत्न त हुँदै छैन भन्ने आशंका उब्जिएको छ ।’ मंगलबार साँझ सम्पादकहरूसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पनि पनि यस्तै संकेत गरेका थिए ।
सोमबार र बुधबार बिहान बसेको सत्ता घटक बैठकमा ललिता निवासको जग्गा प्रकरणलाई लिएर अदालतले मन्त्रिपरिषद्को निर्णयाधिकारीमाथि समेत अनुसन्धान गर्नु भनेर दिएको फैसला र सुन प्रकरणमा एमालेले न्यायिक जाँचबुझ आयोग गठनप्रति लिएको अडानप्रति शीर्ष नेताहरूले समीक्षा गरेका थिए । ‘राजनीतिलाई अतिवादी ध्रुवमा लगेर अस्थिरता ल्याउन कोसिस कतैबाट भइरहेको छ कि भन्ने शीर्ष नेताहरूको आशंका छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘यसले पनि राजनीति केही अन्योलपूर्ण बनिरहेको छ ।’
विमानस्थलबाट बाहिरिएको तस्करीको सुन साउन ३ मा प्रधानमन्त्री मातहतको राजस्व अनुसन्धान विभागले बरामद गरेपछि विमानस्थलमा रहेको गृह प्रशासन र अर्थ मन्त्रालय मातहतको भन्सार युनिटको भूमिका सन्दिग्ध भएको भन्दै एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठाउँदै आएको छ । सीआईबीलाई प्रधानमन्त्री र गृहमन्त्रीले स्वतन्त्रपूर्वक काम गर्न नदिने तर्क गर्दै एमालेले जाँचबुझ ऐन २०२६ अन्तर्गत बहालवाला न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठनको माग गरेको हो । तर, प्रधानमन्त्री दाहालको बुझाइ त्यसको ठीकविपरीत भएको कांग्रेसका एक नेताले बताए । उनका अनुसार एमालेले आयोगको माग गरेर सुन तस्करीको घटनालाई अन्यत्र मोड्न खोजेको बुझाइ प्रधानमन्त्रीको छ ।
संसद्को अवरोध खोल्न जाँचबुझ आयोग बनाउँदा के बिग्रन्छ भन्दै उनीहरूले सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा दाहालले आयोग बनाएर सुन तस्करीको मुख्य व्यक्तिसम्म अनुसन्धान पुग्न नदिने एमाले रणनीति रहेको भनाइ व्यक्त गरेको कांग्रेसका एक नेताले बताए । ‘करिब ६१ केजी सुन विमानस्थलबाट पास हुँदा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतलाई थाहा थिएन । सुन तस्करी हुँदै गरेको सूचना नै सिधै प्रधानमन्त्रीकहाँ आइपुगेको थियो । त्यसकै आधारमा प्रधानमन्त्रीले सिधै आफू मातहत रहेको राजस्व अनुसन्धान विभागलाई परिचालन गरेका थिए । प्रधानमन्त्रीले केही सूचनाका आधारमा आयोग बनाउन मानिरहनुभएको छैन,’ कांग्रेसका ती नेताले भने, ‘प्रधानमन्त्रीले नमानिसकेपछि हामीले समेत आयोग बनाउन दबाब दिन सकिरहेका छैनौं ।’ उनको भनाइमा प्रधानमन्त्री दाहालको संकेत एमालेकै केही नेताप्रति लक्षित छ । एमाले प्रमुख सचेतक पदम गिरीले यो घटना मात्रै होइन, यसअघिका तस्करी काण्डमा पनि एमालेका कोही नेता संलग्न भए तत्काल पक्राउ गरेर देखाउन सीआईबीलाई चुनौती दिए । ‘यो आयोग गठन नगर्नका लागि प्रधानमन्त्रीले चलाएको फन्डा हो । राज्य सत्ताको सम्पूर्ण शक्ति आफ्नो हातमा रहेका बेला एमालेका कोही नेता संलग्न भएको भए अहिलेसम्म बाँकी रहन्थे होला ?’ उनले सीआईबी सत्तारूढ दलका नेताहरूको इसाराभन्दा बाहिर जान नसक्ने भएकाले नै एमालेले न्यायिक छानबिन आयोगको माग गर्दै आएको बताए ।
जाँचबुझ ऐनअन्तर्गतको न्यायिक आयोगबाहेक कांग्रेसले संसदीय समिति गठन गर्ने वा राज्य व्यवस्था समितिलाई छानबिनका लागि जम्मेवारी दिने दुई विकल्प अघि सारेको छ । यी दुई विकल्पमा जान प्रधानमन्त्री दाहाल पनि सकारात्मक छन् । तर, एमाले अध्यक्ष ओली न्यायिक जाँचबुझ आयोग ‘बटम’ लाइन भएको बताउँदै आएका छन् । यसप्रति प्रधानमन्त्री दाहाल सहमत छैनन् । बुधबार बसेको सत्ता घटक बैठकमा सीआईबीले अनुसन्धान सकेपछि चित्त नबुझेमा न्यायिक आयोग गठन गर्न सकिने गरी सहमतिको प्रयास गर्ने विकल्प पनि अघि सारिएको थियो ।
प्रहरीले सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ परेकाविरुद्ध संगठित र अन्तरदेशीय अपराधअन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धान गरेको छ । प्रहरीले ५७ दिनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयलाई बुझाउनुपर्छ । त्यसको तीन दिनभित्र सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । असोज २ गतेभित्र सुन तस्करीमा संलग्नविरुद्ध अभियोजन अदालतमा दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि चित्त नबुझेमा जाँचबुझ आयोग गठन गर्न सकिने माओवादी नेता देवेन्द्र पौडेलले बताए । सीआईबीले अनुसन्धान गरिरहेकाले नटुंगिएसम्म अर्को छानबिन आयोग बनाउँदा राज्यको संयन्त्रमाथि विश्वास नगरेको सन्देश जाने उनको भनाइ छ ।
‘न्यायिक जाँचबुझ आयोग तत्काल बन्दैन । बनाउँदा अविश्वास बढ्छ, पुलिसले हात झिक्छ । सीआईबीले छानबिन गरिरहेका बेला उनीहरूमाथि अविश्वास जगाउने काम गर्न हुन्न,’ उनले भने, ‘सबैलाई अविश्वास गरेर आयोग गठन गरेपछि कसलाई लिएर काम गर्ने ?’

Page 4
युवा ग्यालरी

स्विफ्टले ल्याएको आर्थिक परकम्प

- सजना बराल

(काठमाडौं)
अमेरिकी गायिका टेलर स्विफ्टसम्बन्धी हालैको एउटा रोचक प्रसंग तपाईंलाई कत्तिको थाहा छ ? गएको जुलाईमा अमेरिकाको सियाटलमा आयोजित कन्सर्टमा नाच्दै रमाइलो गर्ने क्रममा स्विफ्टका प्रशंसकहरूले २.३ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएका थिए । आफ्ना ‘एराज’ नामक पछिल्लो सांगीतिक यात्राका क्रममा अमेरिकाका विभिन्न सहरमा पहिलो चरणका प्रस्तुतिहरू अघिल्लो साता मात्र सकेकी स्विफ्टको ख्याति र चर्चा लोभलाग्दो मात्रै छैन, यसले विभिन्न आर्थिक रेकर्डहरू पनि कायम गरेको छ ।
अहिलेकै ट्रेन्ड कायम रहे एराज यात्राको अन्त्यसम्ममा स्विफ्टले टिकट बिक्रीबाट मात्रै एकदेखि डेढ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ । र, त्यो अहिलेसम्मकै सर्वाधिक हुने बताइन्छ । अमेरिकाका विभिन्न २० सहरमा ५२ वटा प्रस्तुति दिएकी यी गायिकाको पछिल्लो टुर मार्च महिनामा सुरु भएको थियो । कतिपय सहरमा बुकिङ खुल्नेबित्तिकै टिकट बेच्ने अनलाइन प्लेटफर्महरू अत्यधिक मागका कारण क्र्यास भएका थिए । एराज टुरको अग्रिम बुकिङ खुल्नेबित्तिकै केही घण्टामै झन्डै ३५ लाख टिकटको माग भएको थियो ।
स्विफ्टको टुरसँग सम्बन्धित एउटा सर्भेका अनुसार उनका प्रशंसकले कार्यक्रमका दौरान हवाई यात्रा, टिकट, मदिरा, पोसाक लगायतमा औसत एक हजार तीन सय अमेरिकी डलर खर्च गर्ने गरेका छन् । अमेरिकामा भएका कार्यक्रममा मात्रै ५ अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार भएको प्रक्षेपण गरिएको छ । ग्लोब न्युजवायर रिपोर्टलाई हालै दिएको अन्तर्वार्तामा क्वेसनप्रो रिसर्चका ड्यान फ्लीटवुडले भनेका थिए, ‘यदि टेलर स्विफ्ट कुनै अर्थतन्त्र हुन्थिन् भने उनी विश्वका ५० वटा देशका कुल गार्हस्थ्य उत्पादनभन्दा बढी हुन्थिन् ।’
मासाचुसेट्सका एक पिताले अन्तिम समयमा स्विफ्टको सांगीतिक कार्यक्रमको टिकट पाउन २१ हजार अमेरिकी डलरसमेत तिरेको र लस एन्जलस सहरमा उनका ६ वटा सांगीतिक कार्यक्रम हुँदा पनि टिकटको माग उस्तै रहनुले पनि यो सांगीतिक र व्यावसायिक उथलपुथलको आकलन गर्न सकिन्छ । स्विफ्टको प्रभाव टिकट बिक्रीमा मात्रै सीमित छैन, अमेरिकाका एटलान्टा, बोस्टन, सिकागो, सियाटल लगायतका विभिन्न स्थानमा कोभिड महामारी सकिएयता पहिलो पटक स्थानीय सेवा व्यवसायहरूको माग अत्यधिक बढेको रिपोर्टहरू आएका छन् ।
टेनेसीमा रहेको निसान रंगशालामा भएको एउटै कन्सर्टमा झन्डै ७० हजार
फ्यान उपस्थित थिए । नास्भिल एअरपोर्टले सो साता झन्डै २ लाख जना आफ्नो सहरमा आएका बताएको थियो । एरिजोनाको ग्लेन्डल सहरमा आफ्नो टुरको पहिलो प्रस्तुति दिएकी स्विफ्टको कार्यक्रमकै कारण सो सहरलाई अस्थायी रूपमा ‘स्विफ्ट सिटी’ नामकरण गरिएको थियो । कार्यक्रमका कारण झन्डै डेढ लाख व्यक्ति ग्लेन्डल सहरमा आएका घोषणा गरिएको थियो । यो संख्या कति ठूलो हो भने अमेरिकामा प्रख्यात सुपरबल सोही सहरमा हुँदा त्यसको आधा मानिस मात्र सहरमा आएका थिए ।
ह्युस्टनस्थित एन्जिए रंगशालामा कार्यक्रम गर्दा स्विफ्टका प्रशंसकले ७२ हजारभन्दा बढी क्षमताको स्थान लगातार तीन पटक पुरै भरेका थिए । स्विफ्टको कार्यक्रम आयोजित साता सिकागोमा ९७ प्रतिशत अर्थात् ४४ हजारभन्दा बढी होटेल बुक भएका थिए । फिलाडेल्फियाको फेडेरल रिजर्भले मन्दीले सुस्ताउँदो अर्थतन्त्रको पुनरुत्थानमा विश्वव्यापी रूपमा दुई सय मिलियनभन्दा बढी एल्बम बेचिसकेकी यी गायिकाको टुरले बलियो टेवा दिएको घोषणा नै गरेको थियो । हिन्दुस्तान टाइम्सको एक समाचारमा एराज टुरले अमेरिकाका २० सहरमा सिर्जना गरेको फ्यानहरूको कुल आर्थिक गतिविधि नै संसारको ३० देशको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी रहेको दाबी गरेको छ ।
आगामी वर्ष अर्थात् २०२४ को नोभेम्बरमा क्यानडाको टोरन्टोबाट आफ्नो सांगीतिक यात्रा सकाउने योजनामा रहेकी स्विफ्टले अहिलेको व्यावसायिक धमाकालाई ध्यानमा राखेर आफ्नो यात्रा लम्ब्याए वा थप सोहरूको घोषणा गरे अचम्म नहुने कला विश्लेषक क्रिस विलम्यानको ठहर छ । मर्निङ कन्सल्ट सर्भेले उनको यात्रा सुरू हुनुअघि गरेको एक सर्वेक्षणमा स्विफ्टका फ्यानमध्ये ७४ प्रतिशत गोरो वर्णका, ४५ प्रतिशत मिल्लेनियल र ५४ प्रतिशत अर्धसहरी क्षेत्रमा बसोबास गर्नेहरू रहेका देखाएको थियो । यस अर्थमा हेर्दा स्विफ्टका झन्डै दुई तिहाइ प्रशंसक ४० वर्षभन्दा कम उमेरका र युवावयका महिलाहरूमा उनको अचाक्ली प्रभाव रहेको पनि सर्वेक्षणले देखाएको छ ।
सामान्यतया छिट्टै जिब्रोमा झुन्डिने गीत बनाउन माहिर उनलाई केहीले अहिलेको पुस्ताको उम्दा गीतकारमध्ये एक मान्छन् । आफ्नो प्रसिद्धिसँगै एप्पल म्युजिक लगायतसँग समान ज्यालाका लागि उनले लिएको सार्वजनिक अडान र आफ्नो सरलताले पनि उनलाई व्यावसायिक रूपमा सफल र उल्लेख्य बनाउन मद्दत गरेको छ । स्विफ्टका दसमध्ये नौ एल्बम अमेरिकी बिलबोर्डमा व्यावसायिक रूपमा अत्यन्तै सफलको सूचीमा पर्न सफल थिए । आफ्नो संगीतमा दर्शकको रुचिअनुसारको प्रयोग गर्न सक्ने बानीले उनलाई अहिलेको सफलता दिलाउन सघाएको मानिन्छ ।
आफ्नो टुरका क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, एसिया र अस्ट्रेलियाका विभिन्न सहरमा जाने योजनामा रहेकी स्विफ्टलाई क्यानडा, चिली, थाइल्यान्ड, हंगेरी लगायतकाले औपचारिक रूपमै आफ्नो देशलाई पनि टुरमा सामेल गरिदिन अनुरोध गरेका समाचार इकोनोमिक टाइम्सले प्रकासित गरेको छ । प्रत्येक कार्यक्रमबाट दस मिलियन अमेरिकी डलरभन्दा बढी आर्जन गर्ने ३४ वर्षीय गायिकाले आफ्नो अमेरिका टुरमा संलग्न ट्रक चालक, नतर्की, प्राविधिक लगायतलाई गएको साता प्रतिव्यक्ति एक लाख डलर उपहार दिएकी थिइन् । त्यसका लागि कुल ५५ मिलियन अमेरिकी डलर खर्च गरेकी थिइन् ।
स्विफ्टले आफ्ना ५२ वटा कार्यक्रममै यसअघि २००८/०९ मा अर्की अमेरिकी गायिका मडोनाले ८५ कार्यक्रममार्फत राखेको एउटा सांगीतिक टुरमा सर्वाधिक कमाउने गायिकाको रेकर्ड तोडिसकेकी छन् । यो टुरको अन्त्यमा एक अर्ब डलरमाथि आम्दानी गर्दा उनले एल्टन जोनको ९ सय मिलियनभन्दा बढी कमाउने रेकर्डलाई पनि
पछि पार्नेछिन् ।
स्थानीय रोजगारी, तयारी खर्च, उत्पादनहरूको बढ्दो मागलगायत आर्थिक मन्दी भोग्दै गरेको अमेरिकी अर्थतन्त्रमा १२ वटा ग्रामी अवार्ड जितिसकेकी यी एक्ली गायिकाको कार्यक्रमले दिएको राहतको विस्तृत विवरण बिस्तारै आऊला । तर, स्विफ्टिज भनिने उनका प्रशंसकहरू भने एराज टुरलाई संगीत इतिहासकै सबैभन्दा सफल टुर बनाउने दिशामा अघि बढ्न प्रतिबद्ध देखिन्छन् ।
स्विफ्टको अर्को कार्यक्रम अगस्ट २४ मा मेक्सिकोको राजधानीमा हुनेछ । स्विफ्टिजको कम्पन पहिलोपटक अमेरिकाबाहिर उस्तै हुन्छ कि हुँदैन, त्यो भने एक सातामा नै थाहा भइहाल्नेछ ।

युवा ग्यालरी

अरिजितको पर्खाइमा नेपाली फ्यान

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– भारतीय चर्चित गायक अरिजित सिंहले नेपाल प्रस्तुति दिने भएसँगै नेपाली फ्यान उनको पर्खाइमा छन् । गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने ‘अरिजित सिंह लाइभ इन नेपाल’ का लागि उनी मंसिर ९ मा नेपाल आउँदै छन् ।
अरिजितका ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘तु हे तो मुझे’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘खैरियत’, ‘अपना बनाले’ लगायत उनका थुप्रै गीत चर्चित छन् । हायात ग्राउन्डमा हुने अरिजितको लाइभ कार्यक्रमका लागि टिकट बिक्री मंगलबारदेखि नै सुरु भइसकेको छ । खल्ती डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने टिकटको मूल्य न्यूनतम ४ हजार रुपैयाँ छ ।
एमएन प्रोडक्सनका निर्देशक नीलविक्रम शाही संगीत मन पराउने दर्शकका लागि विश्वकै तेस्रो स्ट्रिमिङमा पर्ने गायकलाई ल्याउन पाएकोमा खुसी व्यक्त गर्छन् । अरिजितले कार्यक्रममा ३/४ घण्टा प्रस्तुति दिनेछन् । मोबाइल वालेट ‘खल्ती’ का विनय खड्काले पनि गराज र एमएनको यो कार्यक्रमसँग आबद्ध हुँदा खुसी व्यक्त गरेका छन् । ‘अरिजित सिंहलाई नेपाल ल्याउने भनेर ८/९ वटा इभेन्ट अर्गनाइजर आइपुग्नुभएको थियो । सुरुमा आउने गराज थियो र यसलाई सफल बनाउने पनि यही बन्यो,’ उनले भने, ‘खल्तीले विगत ७ वर्षदेखि मनोरन्जन, इभेन्ट कार्यक्रममा सहकार्य गर्दै आएको छ ।’
गराजका रसिक भट्टराईले मुम्बईसम्म पुगेर अरिजितको टिमलाई भेटेपछि उनलाई नेपाल ल्याउन सम्भव भएको बताए । आफूहरूले १५ हजार दर्शक अपेक्षा गरेको पनि आयोजकको भनाइ छ ।
‘नेपालमा विगत लामो समयदेखि विभिन्न कलाकार, सर्जक, गायक तथा संगीतकारहरूलाई एउटै छातामार्फत व्यवस्थापन, संगीत सिर्जना, वितरण तथा कन्सर्टहरू आयोजना गर्दै आएको गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले नेपालमा यस क्षेत्रको विकासका लागि थप योगदान पुर्‍याउने हेतुले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्नेछ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युवा ग्यालरी

पुस्तक चोर्न पाइने पुस्तकालय

- पर्वत पोर्तेल

(दार्जिलिङ)
नेपालीभाषी बाहुल्य भारत, पश्चिम बंगालभित्रको दार्जिलिङमा अलग राज्य ‘गोर्खाल्यान्ड’ को माग उठेको शताब्दी नाघिसक्यो । बेला–बेला बल्दै, निभ्दै गर्ने आन्दोलनको आगो सन् २०१७ मा जुनदेखि १ सय ५ दिन दन्कियो । यातायात, कलकारखानादेखि स्कुल, कलेज सबै ठप्प थिए । जनजीवन अस्तव्यस्त थियो ।
गोर्खाल्यान्डको इपिसेन्टर दार्जिलिङदेखि करिब ३४ किलोमिटर टाढाको चियाबारी गाउँ पोख्रेबुङकी शिक्षक सिर्जना सुब्बा भने आन्दोलनको चटारोबीच विद्यार्थी पढाइरहेकी थिइन् । स्कुल त बन्द थियो । तर, भर्खरै गाडी बेचेर खाली भएको ग्यारेजलाई पुस्तकालयमा परिणत गरेकी थिइन् । त्यही पुस्तकालय आन्दोलनताका ‘कोचिङ सेन्टर’ बन्यो । ‘मेरा धेरै पुस्तक कोठामा अट्ने अवस्था थिएन,’ सिर्जनाले सुनाइन्, ‘खासमा आफूले बढिसकेका पुस्तक साझा गर्ने योजनाकै कारण पुस्तकालय बनेको हो ।’
इतिहासमै सबभन्दा लामो समय चलेको गोर्खाल्यान्ड आन्दोलन बिनानिष्कर्ष टुंगियो । स्कुल, कलेज लयमा फर्किए । ग्यारेजमा बनेको पुस्तकालयलाई यथास्थितिमै राखियो । ‘आन्दोलनपछि पनि पुस्तकालयमा विद्यार्थी आउने क्रम रोकिएन,’ पोख्रेबुङ गर्ल्स हाइयर सेकेन्डरी स्कुलकी भौतिक विज्ञान शिक्षक सिर्जनाले सुनाइन्, ‘यसलाई व्यवस्थित पुस्तकालयको आकार किन नदिने भनेर लागें ।’
पुरातन र परम्परावादी शैलीका पुस्तकालयहरूको भीडमा उनले भिन्नै शैलीको पुस्तकालय निर्माणमा जोड दिइन् । रातो, हरियो रङले उज्यालिएको छ, पुस्तकालय । प्रयोगविहीन रेफ्रिजेरेटर र काठका सोकेसमा पुस्तकहरू चिटिक्क सजाइएको छ । भित्तामा राखिएका गाडीका थोत्रा टायरहरूले पुस्तकालयको हुलिया फरक बनेको छ । भित्र छन्, बाँस र काठका कुर्सी र टेबुल । जहाँ बसेर पढ्न पाइन्छ आफूलाई मनपर्ने पुस्तक ।
पुस्तकालयमा न नियम छ, न त कुनै आचारसंहिता नै । उनले पुस्तकालयको नामकरण गरिन् ‘द बुक थिफ ओपन लाइब्रेरी’ । अर्थात् किताब चोर्न पाउने खुला पुस्तकालय अस्ट्रेलियाली लेखक मार्कस जुसाकको वेस्ट सेलर उपन्यासबाट प्रभावित भएर पुस्तकालयको नाम जुराएको सिर्जनाले बताइन् । मार्कसको उपन्यासमा झैं पुस्तकालयमा दैलो छैन । खासमा जतिबेला पनि आएर मन परेको किताब चोरेर लैजाने छुट छ सबैलाई । ‘अरूतिरका पुस्तकालयमा अनुशासन होला, नियम होला । तर, हाम्रो पुस्तकालमा छैन,’ स्थानीय चियाको सर्को तानेपछि सिर्जनाले भनिन्, ‘यस्तो पुस्तकालय किन नबनाउने, जहाँ कुनै डर त्रास नहोस् ।’ २१ वर्षदेखि शिक्षण पेसामा संलग्न सिर्जनालाई लाग्छ, दबाबमा नानीहरूको सिर्जनात्मकता मरेर जान्छ ।
जति किताब चोरेर पढ्यो, त्यति नै समाज शिक्षित र सक्षम बन्दै जान्छ जस्तो लाग्ने बताउँछिन् सिर्जना । कोभिड महामारीका बेला पनि आन्दोलनमा झैं स्कुलहरू ठप्प मात्रै भएनन्, लकडाउनका नाममा सर्वसाधारण घरघरमै कैदी बने । त्यो समय पनि पुस्तकालय खुला रह्यो । विद्यार्थीले किताब चोर्दै घर लगेर पढे । उनी सधैं सोच्ने गर्थिन्, यदि युवा दिमागहरू गैरउत्पादक गतिविधिमा संलग्न नभएर पुस्तक चोर्नतिर लागेको भए आज संसार अझै सुन्दर बन्थ्यो होला ।
सिर्जनासँग २१ वर्ष लामो शिक्षण अनुभव छ । सँगै लेखकको अनुभव छ पनि । अंग्रेजी भाषामा मात्रै उनका ९ वटा पुस्तक प्रकाशित छन् । अंग्रेजी भाषाको १० औं कविता कृति ‘फिक्का चिया’ यसै महिना सार्वजनिक हुँदै छ । चिया श्रमिकसँगको सोझो सम्बन्ध उनको कृतिमा छ ।
‘कमानमा बस्नेका लागि फिक्का चिया लाइफलाइन हो,’ उनी थप्छिन्, ‘कमानमै जन्मिएर हुर्केको आफ्नो अनुभव कवितामा समावेश गरेकी छु ।’ अघिल्लो वर्ष उनले भारतका स्वतन्त्रता सेनानी आईएनए क्याप्टेन दलबहादुर थापाको आत्मकथा प्रकाशित गरेकी थिइन् ।

युवा ग्यालरी

ओलम्पिकमा फेल्प्सको आठौं स्वर्ण

- कान्तिपुर संवाददाता

सन् २००८ मा आजकै दिन (अगस्ट १७) मा अमेरिकी पौडीबाज माइकल फेल्प्सले बेइजिङ ओलम्पिक्समा आठौं स्वर्ण जितेका थिए । आठौं स्वर्ण उनले ४ गुणा १०० मेड्ले रिलेमा जितेका थिए ।
त्योसँगै उनले एकै ओलम्पिकमा सबैभन्दा बढी स्वर्ण जित्ने रेकर्ड कायम गरेका थिए । त्यसअघि अर्का अमेरिकी पौडीबाज मार्क स्पिट्जले एकै ओलम्पिकमा ७ स्वर्ण जितेका थिए ।
फेल्प्सले ओलम्पिक्समा २८ स्वर्ण जितिसकेका छन् । तीमध्ये २३ स्वर्ण पदक हुन् । महिलातर्फ भने सबैभन्दा बढी ओलम्पिक स्वर्ण जित्ने खेलाडी सोभियत संघकी लारिसा लत्यिनिता हुन् । ओलम्पिक्समा उनले १८ पदक जितेकी छन् । एक हजार २२ स्वर्णसहित दुई हजार ५ सय २२ पदक जितेको अमेरिकाको नाममा सबैभन्दा बढी पदकको रेकर्ड छ ।

Page 5
समाचार

बाढीले पुरेको कागबेनी खोतल्दै स्थानीय र सुरक्षाकर्मी

- घनश्याम खड्का

(म्याग्दी)
आइतबारको झरी वर्षालगत्तै आएको लेदो र गेग्र्यानसहितको बाढीले पुरिएको कागबेनीको बस्ती खोतल्न सुरु गरिएको छ । नेपाल प्रहरीका २०, सशस्त्र प्रहरीका २०, नेपाली सेनाका चालीससहित एक सय बढी स्थानीय खोज तथा उद्धारकर्ताहरू दुई दिनदेखि बाढीले पुरिएको धार्मिक तथा पर्यटकीय बस्ती कागबेनी खोतल्न लागिपरेका छन् । मुस्ताङस्थित विपद् व्यवस्थापन समितिका अनुसार अहिले क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामानहरू उत्खनन गर्ने र बाढीले पुरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमाथि थुप्रिएको लेदोसहितको गेग्य्रान हटाउन कम्तीमा एक महिना लाग्न सक्ने अनुमान सुनाए । उनले भने, ‘सुरुमा आंशिक क्षति भएका घर सफा गर्दै विस्थापितहरूलाई बस्न मिल्ने बनाउने योजनामा छौं ।’
आइतबार साँझ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ मा पर्ने कागबेनी बस्ती स्थानीय ठाडो कागखोलामा आएको बाढीले पुर्दा होटल, रेस्टुरेन्टसहित निजी तथा सामुदायिक गरी २९ वटा भवनमा पूर्ण रूपमा क्षति पुगेको थियो । १३ घरमा आंशिक क्षति पुग्नुका साथै कागबेनी खोलामाथि निर्मित पक्की मोटर पुल, एउटा एक्स्काभेटर, ९ वटा मोटरसाइकल र २ वटा जिप, एउटा झोलुंगे पुल र ३ वटा काठेपुल बगाएको थियो । कागबेनी हिन्दु धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यहाँका निजी आवास पनि
होटल, रेस्टुरेन्टका रूपमा प्रयोगमा आएका छन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले घर पुरेपछि विस्थापित भएका कम्तीमा एक सय जनालाई खाद्यान्न र आवासको व्यवस्थापन गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङका अनुसार कागबेनीमा कार्यरत अन्य जिल्लाका केही मजदुरलाई भने सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिकाको सामुदायिक भवनमा राखिएका छन् । गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले बाढीबाट विस्थापित करिब एक सय ५० जनाले छिमेकी र आफन्तको घरमा आश्रय लिएको बताए ।

जोमसोम–कोरोला सडकमा चार दिनदेखि अवरुद्ध
बाढीले मोटरपुल र सडक कटान गरेपछि चार दिनदेखि जोमसोम–कोरोला सडकमा यातायात अवरुद्ध बनेको छ । गत शनिबार र आइतबार लगातार परेको वर्षापछि कालीगण्डकीमा आएको बाढीले बारागुङ मुक्तिक्षेत्र गापाको छुक्साङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चैले जोड्ने चैलेगेट मोटरपुलको पहुँच मार्ग बगाएको थियो ।
त्यस्तै कागबेनीको कागखोलामा आएको बाढीले कागबेनी पुल बगाएको थियो भने लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा रहेको कल्भर्ट पनि बगाएको थियो । त्यसयता जोमसोम–कोरोला यातायात अवरुद्ध भएको छ ।
जोमसोम–कागबेनी खण्डको जोमसोम नजिककै कालीगण्डकीले सडक कटान गरेपछि एक दिन यातायात रोकिएको थियो । दुई दिनपछि सोमबार डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो । ‘यो वर्ष हिमालपारि मुस्ताङको पनि उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन् । जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समयसमयमा यातायात अवरुद्ध हुने गरेको छ,’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘हामी सवारीसाधन जोमसोम पुर्‍याउन बाटाका पहिरो पन्छाउनै व्यस्त छौं । तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गर्छौं ।’

समाचार

दुई महिनासम्म धर्ना, पीडितको माग सुनुवाइ भएन

- विद्या राई

(काठमाडौं)
जनकपुरकी आरती साहको न्यायका लागि माइती पक्ष काठमाडौंको माइतीघरमा धर्ना बस्न थालेको बुधबार ६२ औं दिन पुग्दा पनि सरकारले सुनुवाइ गरेको छैन । बरु आश्वासन दिएर घर फर्काउने प्रयास भइरहेको छ । ‘हामीलाई सरकारले गाउँ फर्काउन खोजेको छ, गृहले छलफलमा बोलाएको थियो, छानबिन समिति गठन गरेर छानबिन गर्छौं भन्नुभयो,’ आरतीका मामा सन्तोष भन्छन्, ‘आश्वासनमा हामी विश्वस्त छैनौं, माग पूरा नभएसम्म फर्कंदैनौं ।’
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि घर फर्कन अनुरोध गरिएको बताए । ‘प्रहरी हेडक्वार्टरसँग समन्वय गरेर माग सम्बोधन गर्छौं, गाउँमा अनुसन्धानमा आउनेलाई आफ्ना कुरा राखेर सहयोग गर्नुस् भनेका हौं,’ उनले भने, ‘शान्ति सुरक्षाको चिन्ता गर्नु पर्दैन भनिरहेका हौं, यसैमा कुरा मिलिरहेको छैन ।’
न्याय पाउने आशा हराउँदै गएपछि धर्नारत आरतीका बुबा विनोदप्रसाद, आमा निर्मला देवी, भाइ प्रेम, बहिनी मनीषा, मामा सन्तोषकुमार, आफन्त र समर्थकले सोमबार प्रदर्शन गरेका थिए । सिंहदरबारको दुई नम्बर गेट पुगेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो क्रममा आन्दोलनरत महिलालाई पुरुष प्रहरीले शरीरका संवेदनशील अंगमा हात हालेको भन्दै नागरिक आन्दोलनका अभियन्ता र अधिकारकर्मीले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यस विषयबारे बुझेर आफ्ना कमजोरीहरू सच्याउने र प्रहरीले नियतवश पक्राउ गरेको भए कारबाही गर्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ । दिउँसो १२ बजे पक्राउ परेकाहरूलाई माइतीघरबाहेक अन्यत्र आन्दोलन गरेमा कारबाही गर्ने सर्तमा प्रहरीले बेलुकी ७ बजे छाडेको थियो । त्यसपछि उनीहरूले माइतीघरमै धर्नालाई निरन्तरता दिएका छन् ।
सुरुमा उजुरी लिन अटेर गर्दै पीडितमाथि कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत उनीहरूका माग छन् । पीडित पक्षले आरतीका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासू रेनु देवी र देवर रवि साहविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आरतीका श्रीमान् र ससुरालाई पक्राउ गरेपछि जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले पहिलो चरणको अनुसन्धानपछि आरतीका ससुरा र श्रीमान्लाई थुनामा पठाइएको बताए । धनुषाका एसपी
खड्का र डीएसपी गौतममाथिको अनुसन्धान र पीडितको मागबारे मंगलबार छानबिन समिति गठन भइसकेको उनको भनाइ छ ।
धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाकी आरती र जनकपुरधाम–९ थापाचोकका मोतीबाबु साहबीच ०७८ असार २९ मा मागी विवाह भएको थियो । विवाहको केही समयपछि श्रीमान्ले आरतीलाई दाइजोको दबाब र यातना दिन थालेका थिए । गत जेठ ७ गते आरती घरको कोठाभित्र पंखामा सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन् । माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको आशंकामा निष्पक्ष छानबिन र न्यायको माग गर्दै आएका छन् ।

समाचार

प्रधानसेनापति भारत जाँदै

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– प्रधानसेनापति प्रभुराम शर्मा ‘इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्स’ मा भाग लिन भारत जाने भएका छन् । नेपाली सेनाका प्रधानसेनापतिहरूले लामो समयदेखि भाग लिँदै आएको उक्त सम्मेलनमा यस पटक प्रधानसेनापति शर्मा भारतमा जान लागेका हुन् ।
यस पटक अमेरिकी सेनाका इन्डो–प्यासिफिक कमान्ड र भारतीय सेनाको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार प्रधानसेनापति शर्मा असोज ८–१० सम्म भ्रमणमा निस्कन लागेका छन् । शर्मा प्रधानसेनापति भएपछि दोस्रो पटक भारत भ्रमणमा निस्कन लागेका हुन् ।
यसअघि उनले प्रधानसेनापति हुनेबित्तिकै २०७९ को कात्तिक २३–२६ सम्म भारतको भ्रमण गरेका थिए । त्यस बेला उनले दुई मुलुकका सेनाबीच एकअर्काको सैनिक प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने परम्पराअनुसार भारतीय सेनाका मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाएका थिए ।

Page 6
सम्पादकीय

१२ कक्षाको नतिजाले देखाएको तस्बिर

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकाशन गरेको कक्षा १२ को नतिजामा गत वर्षको तुलनामा सामान्य सुधार देखिए पनि सन्तोषजनक छैन । विद्यालय तहको अन्तिम परीक्षामा ५१ प्रतिशत विद्यार्थी मात्र उच्च शिक्षा भर्ना र अध्ययनका लागि योग्य भएका छन् । यो निजी विद्यालयसहितको नतिजा हो । सामुदायिक विद्यालयको स्थिति त झन् दयनीय छ । यति धेरै विद्यार्थी उच्च शिक्षाका लागि अयोग्य हुनुमा विद्यार्थी स्वयंको मात्र कमजोरी पक्कै छैन । यस नतिजाले शिक्षक, विद्यालय, सरकार (खास गरी स्थानीय) का साथै समग्र शिक्षा प्रणालीकै कमजोरीलाई प्रतिविम्बित गर्छ ।
कोरोना महामारीका कारण पढाइ बिथोलिएका बेला गत वर्ष ४८.१० प्रतिशत विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि योग्य भएका थिए, नियमित पढाइ हुँदा यो वर्ष २.८१ प्रतिशतले मात्र नतिजामा सुधार देखिएको छ । गत वैशाख २६ देखि जेठ ५ सम्म सञ्चालित कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ विद्यार्थी सहभागी भएकामा १ लाख ८९ हजार ७ सय ११ जना मात्र उच्च शिक्षामा भर्ना हुन योग्य भएका हुन् । यस पटक ननग्रेडिङ (एनजी) मा परेका ४९.०९ प्रतिशतमध्ये दुई विषयसम्मको सैद्धान्तिक (लिखित) मा ३५ अंक नल्याएका विद्यार्थीले आगामी असोजमा ग्रेडवृद्धिको परीक्षा लेख्न पाउँछन् तर ती सबैले ग्रेड सुधार नगर्न पनि सक्छन् । तीन वा त्यसभन्दा बढी विषयमा एनजी भए विद्यार्थीले अर्को वर्ष परीक्षा लेख्नुपर्छ । तर यस्ता अधिकांश विद्यार्थीले पढाइलाई नै बिट मार्ने गरेको पाइन्छ । यस्ता विद्यार्थी पलायन नहोऊन् भनेर गत वर्ष लेटर ग्रेडिङ निर्देशिकाले एनजी आएको विषयमा मात्र अर्को वर्ष ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था ल्यायो । तर गत वर्षका त्यस्ता ५७ हजार विद्यार्थीमध्ये १४ हजार मात्रै यसपालिको ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुले नयाँ व्यवस्थाले तात्त्विक फरक पारेको देखिँदैन ।
२०७२ को संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । संविधानले गरेको व्यवस्थाअनुरूप नयाँ शिक्षा ऐन ल्याउन संघ सरकारले ढिलाइ गरिरहँदा स्थानीय सरकारहरूले आफ्नै ढंगले कानुन र अन्य संरचना तयार गरेर विद्यालय सञ्चालन र व्यवस्थापन गर्दै आएका छन् । विद्यालय सुधारका क्षेत्रमा अधिकांश स्थानीय सरकारहरूको
सक्रियता पनि देखिन्छ तर त्यसको प्रभावकारिता परीक्षाको नतिजामा देखिन सकेको छैन ।
नतिजाका आधारमा एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पनि छ । कसैले कक्षाकोठाको सिकाइ शैलीलाई दोष दिन्छन्, कोहीले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समस्या औंल्याउँछन् । समस्या कहीँ न कहीँ पक्कै छ, सबैतिर पनि हुन सक्छ । तर गम्भीर भएर समस्या पहिल्याउन र समाधान गर्न कसैले अग्रसरता लिएको पाइँदैन । परिणामस्वरूप बालबालिकाको भविष्यमा असर परिरहेको छ ।
नतिजा सुधारका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष विद्यार्थीलाई पढाइमा आकर्षित गराउन सक्नु हो । त्यसमा शिक्षकको विषयविज्ञता, पढाउने शैली र भौतिक पूर्वाधार उत्प्रेरक हुन् । अधिकांश विद्यालयमा १० कक्षासम्म सञ्चालित विद्यालयले कक्षा स्तरोन्नति गरेर १२ सम्म पुर्‍याए तर त्यही अनुसार पूर्वाधार स्तरोन्नति गरेनन् । पहिलेकै शिक्षकले माथिल्लो तहमा पढाउँछन् । कानुनी व्यवस्थाको अभावले कक्षा ११ र १२ पढाउनेका लागि मुलुकभर एउटा पनि स्थायी दरबन्दी छैन, जसका कारण घर–सहर अपायक ठाउँमा पढाउन हतपती कोही जाँदैनन्, गए पनि लामो समय बस्दैनन् । अस्थायी दरबन्दीमा पनि योग्यताभन्दा निकटता हेरेर नियुक्ति गर्ने प्रवृत्ति छ । दलीय राजनीतिमा शिक्षकको सक्रियता अर्को समस्या छ । धेरै विद्यालयमा जग नै कमजोर छ । विद्यालयमा वर्षौंदेखि रहेको दक्ष र विषयगत शिक्षकको समस्यालाई सरकारले अझै समाधान गर्न नसक्नु विडम्बनापूर्ण छ ।
संघ सरकारले नयाँ संविधान अनुरूप शिक्षा ऐन नल्याउँदा विद्यालय तहको अधिकार क्षेत्रका विषयमा अन्योल पनि देखिन्छ । विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकारले लिइसकेपछि शिक्षक नियुक्ति र सरुवाका विषयमा कतिपय ठाउँमा शिक्षक, स्थानीय सरकार र संघ सरकारबीच मनमुटाव देखिएको छ । यसले पनि विद्यालयको पठनपाठनमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको हुन्छ । यस्तो अन्योलता हुन नदिन स्थानीय तहको संरचना कार्यान्वयनमा आउनुअघि नै संघ सरकारले शिक्षा ऐन बनाइसक्नुपर्थ्यो । विद्यालय शिक्षा सम्बन्धी विधेयक बल्ल मन्त्रिपरिषद्बाट पारित गरेर संसद् पठाइन लागेको थियो तर विभिन्न स्वार्थ समूहका कारण गिजोलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सुधार गरेर मात्र संसद्मा पेस गर्ने बताएका छन् । विवादित बनाइएका कारण विधेयक मन्त्रिपरिषद्मै लामो समय अल्झिने र संसद् पुगेर पनि अलमलिने जोखिम छ । विधेयकलाई जतिसक्दो छिटो अघि बढाउन सरकारले पहलकदमी लिनुपर्छ । त्यसका लागि सरोकारवाला निकाय/व्यक्तिको दबाब पनि जरुरी छ ।
राष्ट्रिय स्तरमा लिइने परीक्षाको नतिजापछि सधैं विद्यालय शिक्षा सुधारको बहस चल्छ, कमजोरी औंल्याइन्छ, सुधार्नुपर्ने पक्ष सुझाइन्छ तर बिस्तारै यी विषय सेलाएर जान्छन्, विद्यालयको शैक्षिक स्तर जहाँको त्यहीँ रहन्छ । परीक्षाको नतिजा सधैं उस्तै–उस्तै हुनुले पनि त्यही प्रवृत्तिलाई पुष्टि गरिरहेको छ । अब यस प्रवृत्तिमा क्रमभंगता अत्यावश्यक छ । विद्यालय शिक्षा विद्यार्थीको मात्र नभएर मुलुककै भविष्यसँग जोडिएको सरोकार हो । विद्यार्थीलाई पढ्ने व्यवस्था गरेर मात्र पुग्दैन, गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ, जसका लागि शिक्षक, विद्यालय, सरकार सबै गम्भीर बन्नुपर्छ ।

सम्पादकलाई चिठी

विद्यालय शिक्षाको अवस्था दयनीय !

१. विद्यालय शिक्षाको अन्तिम विन्दुमा पुगेर आधा विद्यार्थी असफल हुनु भनेको विद्यालय असफल हुनु हो, यसका शिक्षक असफल हुनु हो । सम्पूर्ण शिक्षा प्रणालीकै असफलता हो यो ।
२. कक्षा १२ को नतिजाले यही सन्देश प्रवाह गरेको छ । एसईईमा कमजोर विद्यार्थी उत्तीर्ण भएकाले कक्षा १२ को नतिजा यस्तो आएको हो भन्ने पनि भेटिन्छन् । तर कक्षा १० मै पनि विद्यार्थी कमजोर हुनु के विद्यालयको इज्जत वा पि्रतष्ठा हो त ?
३. फेरि पनि विद्यालय शिक्षामा चाहे आधारभूत परीक्षा होस्, वा एसईई होस् वा कक्षा १२ को परीक्षा होस् यति धेरै विद्यार्थी कमजोर हुनु भनेको शिक्षामा काम गर्ने हामी सबै असफल भएका हौं भन्ने नै हो ।
४. कक्षा १२ को परीक्षामा करिब ६० हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा समेत सामेल हुन नपाउनु पठन–पाठनकै कमजोरी हो । जबसम्म विद्यार्थी केन्द्रित भएर विद्यालयभित्र पठन–पाठन हुँदैन तबसम्म संघ, संगठन, महासंघ जे जे खोले पनि विद्यार्थीको भविष्य अनिश्चति नै हुन्छ भन्ने अर्को सन्देश यो नतिजाले दिएको छ ।
५. माथिल्लो जीपीए अर्थात् ३.६१ देखि ४ सम्म पाउने विद्यार्थी २ प्रतशित पनि छैनन् । ३.२१ देखि ३.६० सम्म ल्याउने जम्मा १० प्रतशित मात्रै हुन् । उत्तीर्णमध्ये बाँकी ८८ प्रतशित विद्यार्थीको नतिजा कमजोर छ । फेरि परि विश्लेषण गरौं । छातीमा हात राखेर भनौं के विद्यालयले गरेको प्रयास पर्याप्त छ ।
६. अंग्रेजीमा झन्डै ३० प्रतिशत विद्यार्थी नन (ग्रेडमा परेका छन्) एक सय पूर्णांकमा ३५ अंक पनि नपुगेर लेखा, अर्थशास्त्र, र बिजिनेस स्टडिजमा गरेर अंग्रेजीकै जति संख्यामा विद्यार्थी अनुत्तीर्ण भएका छन् । नेपालीमा मात्रै ३८ हजार विद्यार्थी अनुत्तीर्ण छन् ।
७. यसलाई हल्का रूपमा बुझ्नु भनेको विद्यालय शिक्षाको गुणस्तरीयतालाई बेवास्ता गर्नु मात्रै हो । अब आउने एसईई परीक्षामा पनि यही ग्रेडिङ प्रणाली लागू हुनेछ र सैद्धान्तिकमा ३५ प्रतशित अंक ल्याउन नसक्ने विद्यार्थीले अनुत्तीर्णको बिल्ला भिर्नुपर्नेछ । स्थिति भयावह हुने आकलन अहिल्यै गर्न सकिन्छ ।
८. ग्रेडिङ प्रणाली लागू भएपछि ३५ अंक तोकेर पास फेल गर्न मिल्ने कि नमिल्ने ? यो अर्को गम्भीर प्रश्नको जवाफ शिक्षा मन्त्रालयले दिनुपर्छ । ग्रेडिङ प्रणाली लागू गर्ने, अंकमा मापन गर्ने, अंकमै पास फेल गर्ने हो भने ग्रेडिङ प्रणाली किन चाहियो ? यसमा प्राज्ञिक ढंगले सोच्ने कि नसोच्ने ? यस अर्थमा शिक्षा मन्त्रालयले ग्रेडिङ प्रणालीलाई हल्का रूपमा लिएको र यसैका कारण बर्सेनि थुप्रै विद्यार्थीको योग्यतामा प्रश्नचिह्न लाग्ने गरेको यथार्थ जति लुकाए पनि लुक्दैन ।
९. कुनै पनि बहानामा किशोरावस्थाका बालबालिकाहरूलाई १२ वर्ष पढाए तँ फेल भइस् भन्न मिल्छ ? कदापि मल्दिैन । कसरी यस्ता बालबालिकाको संज्ञान पक्ष बलियो बनाउने भन्ने कुरामा शिक्षा मन्त्रालयको ध्यान पुगेकै छैन ।
१०.यो स्थिति आउँदा दिनमा अझ विकराल हुँदै जाने सम्भावनालाई विचार गरी तत्काल शिक्षा मन्त्रालयले सकारात्मक हस्तक्षेपकारी भूमिका नखेल्ने हो भने विद्यालय तहका वद्यार्थीको भविष्य अनिश्चित थियो, छ, र रहिरहनेछ । ‘राम राम’ भन्नुभन्दा अरू केही रहनेछैन ।
– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

सम्पादकलाई चिठी

अपराधकर्म बचाउँदा पार्टीको छवि बढ्छ र ?

राजनीतिक पार्टीहरूको धर्म र पुँजी भनेकै आम जनतालाई आशाको किरण देखाउनु हो । दलहरूबाटै देश र जनताको उत्थान हुने विश्वास गरेर सदस्यता लिनु दलहरूको अर्को पुँजी हो । तर केही वर्षदेखि पुराना पार्टीहरू आफ्नो धर्म र पुँजी दुवै जोगाउन चुकिरहेका छन् । जसका कारण पुराना पार्टीहरूको छवि त बिग्रेको छ नै उनीहरूको भोट बैंक पनि खस्किरहेको छ । उदाहरणका लागि चितवन र तनहुँको निर्वाचनलाई लिन सकिन्छ । उपचुनावको परिणामलाई हेर्दा पुराना दलहरूप्रतिको विश्वास नराम्रोसँग स्खलित भएको देखिन्छ । खास गरी कांग्रेस, एमाले र माओवादी पार्टीको समानुपातिक मत लाखौंले घट्नु नै दलहरूप्रतिको वितृष्णा बुझ्नुपर्छ । विगतमा ३२ प्रतिशत रहेको कांग्रेस, एमालेको समानुपातिक मत आज २५/२५ प्रतिशत मात्र छ किन ? यसको मुख्य कारण के हो ? यसको कारण र निवारण बेलैमा नगरे दलहरूको अस्तित्व संकटमा पर्ने निश्चित छ । उनीहरू भ्रष्टाचार सुशासनको पक्षमा भन्दा अपराधकर्महरूको बचाउ र दण्डहीनताको पक्षमा लागिरहेको प्रस्ट छ । उनीहरू कस्तो शासन प्रशासन, नेता र दल चाहन्छन् भन्ने उपनिर्वाचनले देखाइसकेको हामीलाई थाहा नै छ । त्यो दृश्य देखेर र भोगेर पनि दल र दलका नेताहरूले बुझ्न नसक्नु कमजोरी हो ।
जनताको भावनालाई नजरअन्दाज गरेर निर्णय लिएका कारण एमालेको मतमा ठूलो असर परेको देखिन्छ । जनताले काठमाडौंबाट हराएका व्यक्तिलाई पुनः उम्मेदवार बनाउनु, हत्याको आरोप लागेका लक्ष्मी महतोलाई सांसदको टिकट दिनु, ७० करोड टेप काण्डमा जोडिएका गोकुल बास्कोटालाई बचाउ गर्नुजस्ता कारणले मतदाता एमालेप्रति रुष्ट थिए । आफूप्रति मतदाताको बुझाइ कस्तो छ ख्याल नगरी निर्णय गर्नु एमालेको भूल थियो । अहिले नक्कली डाक्टरको आरोप लागेका सुनील शर्माको र नक्कली शरणार्थी काण्डमा मुछिएका बालकृष्ण खाणको अपराधकर्म बचाउन खोज्दा कांग्रेसको छवि धमिलिएको छ । जतिजति कांग्रेसले सुनील, बालकृष्ण, अफताब आलम, विजय गच्छदारहरूको बचाउमा लाग्छ, उतिउति जनविश्वास गुम्दै जान्छ । त्यस्तो अवस्था आउनु भनेको दलहरूको पुँजी घट्दै जानु हो । माओवादीले कृष्णबहादुर महराजस्ता छवि बिग्रेको पात्रलाई जति धेरै समय बोक्न खोज्छ, उति नै उसको पुँजी खिएर जान्छ । के महरासंँगै पार्टी सती जाने ? महराको नाम लडाकु क्याम्पको पैसादेखि ५० करोड टेप काण्ड र रोशनी काण्डसम्म पुग्दा छवि धेरै बिग्रेको छ । अहिलेको बिजुली चुरोटसँग जोडिएको सुन काण्डले त झन् माओवादीलाई निकै अप्ठेरो बनाएको छ । यस्ता विवादास्पद पात्रलाई माओवादीले किन बोकिरहेको छ, नागरिकले बुझ्न सकेका छैनन् । पुराना भनिएका यी सबै दलको अपराध कर्मले जनता वाक्क छन् । दलहरूले जनविश्वास गुमाएका छन् ।
– गोपाल देवकोटा, जोरपाटी, गोकर्णेश्वर–८

दृष्टिकोण

भ्रष्टाचार : (अ)राजनीतिको गोटी

- इन्द्र अधिकारी

 

पछिल्लो समय नेपालमा सर्वाधिक चर्चामा रहेको विषय हो— भ्रष्टाचार, त्यो पनि राजनीतिक व्यक्तित्वहरूको संलग्नताको भ्रष्टाचार । दैनिक समाचारपत्रका पानाहरू नै को कहाँ संलग्न छ, को कसलाई बचाउन कहाँ कुन रूपमा बसिरहेको छ भन्नेजस्ता विषयले भरिएका छन् । एक थरी मानिसहरू यसैलाई बहाना बनाएर भ्रष्टाचार आफैंमा अहिलेको राजनीतिक व्यवस्था र संरचनाको स्वाभाविक परिणाम भएझैं प्रस्तुत भएर (अ)राजनीति पनि गरिरहेका देखिन्छन् । अराजनीति किन भनिएको हो भने, राजनीतिका आफ्नै स्वाभाविक मूल्यमान्यता हुन्छन् र यो आफैंमा उच्च सामाजिक विज्ञानको अंश हो । तर राजनीतिका नाममा तिकडम र मूल्यमान्यता अनि सिद्धान्तविपरीत व्यक्तिगत वा निहित स्वार्थका काम हुन्छन् भने तिनलाई राजनीतिको परिभाषाभित्र राख्न मिल्दैन । नहुने या नगर्न पर्ने काम विभिन्न तिकडम, चलखेल या हतकण्डा प्रयोग गरी सफल पारिएमा ‘यहाँ राजनीति भयो’ भन्ने हाम्रो गलत बुझाइलाई चिर्न आवश्यक भएका कारण पनि शीर्षकमा यो विषय झल्काउन खोजिएको हो ।

भ्रष्टाचार सम्बन्धी बुझाइ
मेरो पुस्ताले अलिअलि थाहा पाउने अवस्थाको मात्र कुरा गर्ने हो भने, पञ्चायती व्यवस्थाका अन्तिम दिनहरूमा यस विषयमा तत्कालीन राष्ट्रिय पञ्चायत र चोकगल्लीहरूमा सार्वजनिक, खास गरी राजनीतिक र नीतिगत भ्रष्टाचारका सन्दर्भकेन्द्रित चर्चाहरू हुन्थे । जनमत संग्रहपछिको सूर्यबहादुर थापाको सरकारविरुद्धको अविश्वासको प्रस्तावमा प्रमुख आरोप थापा सरकार भ्रष्ट भयो भन्ने नै थियो । त्यसपछिको कुनै पनि सरकार पतन भइरहँदा सम्पूर्णमा सरकार या त्यसका पात्रहरूलाई कहीँ न कहीँ यस्ता आरोपहरू लागेकै छन् । थापा सरकार भ्रष्ट हो भन्ने आरोप लगाउनेमध्येका प्रमुख तत्कालीन माननीय प्रकाशचन्द्र लोहनीलाई पनि उनी अर्थमन्त्री रहेका बेला त्यस्तो आरोप लागेकै हो । जनआन्दोलनताका पम्फादेवी, शरद्चन्द्र शाह र तत्कालीन मन्त्रीहरू, राजाका भाइहरू या कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारका केही मन्त्रीविरुद्ध आरोप, लाउडा र धमिजा काण्ड, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा स्वयंले लिएको दोहोरो सुविधालाई लिएर भएको होहल्लासहित हालसम्मका भ्रष्टाचार आरोपको फेहरिस्त धेरै लामो छ । ज्ञानेन्द्रकालका कमल थापादेखि गणतन्त्रका कृष्णबहादुर महरासम्म अनि कोभिडकालका यती ग्रुप लगायतका भ्रष्टाचारको सूची एउटा आलेखमा समेटिन सम्भव छैन । यी फेहरिस्तका बीच कारबाहीमा परेका मुख्य नाम हुन्— खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र जयप्रकाश आनन्द ।
भ्रष्टाचार सम्बन्धी कारबाहीमा कांग्रेसका नेताहरू मात्र परेका सन्दर्भमा पनि समाज विभाजित छ । एक थरी कांग्रेसजनको यसमा किन आपत्ति देखिन्छ भने त्यहाँ उनीहरू षड्यन्त्र देख्छन् र प्रश्न गर्छन्— भ्रष्टाचारविरुद्धको सजाय कांग्रेसीले मात्र पाउनुपर्ने ? यस विषयमा राजनीतिक विश्लेषक हरि रोकाले जेएनयू पढ्दाताका भनेको कुरा सम्झनलायक छ । उनी भन्थे, ‘कांग्रेसकाहरू १० हजार भ्रष्टाचार गरे भने त्यही रात चोक हल्लने गरी साथीहरूसँग बसेर उडाइदिन्छन् । त्यसैले यसबारेमा समाजमा पनि हल्लाखल्ला हुन्छ । तर कमरेडहरू भ्रष्टाचारमार्फत करोड बाजी मारे पनि चोकमा खाएको चियाको पैसासम्म अरूलाई तिराएर सच्चा बन्न खोज्छन् ।’ यो एउटा तर्क होला, तर व्यवहारमा के देखिन्छ भने, ‘कमरेड’ भनिसकेपश्चात् कडा (आर्थिक) अनुशासनमा दीक्षित र परीक्षित भएको भन्ने छाप छ Û त्यसैले कार्यकर्ता तहमा नेताविशेषका प्रायः कसुरहरू आफैंमा माफ भइहाल्ने प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा अलिक बढी नै छ । उदाहरणका लागि, ‘नेपालकै भ्रष्ट दल एमाले हो’ भनेर रत्नपार्कमा दस्तावेजसहित भाषण गर्ने वामदेव गौतम फेरि एमालेमा भित्रिनासाथ सबैको कमरेड बन्न सके । क्यान्टोनमेन्ट घोटालाका नाममा देश–विदेशमा लबिइङका लागि मानिसहरू खटाएर बसेको एमाले नै सत्तास्वार्थ आफ्नो पोल्टामा पार्न माओवादी केन्द्रसँग एकता गर्न र प्रचण्डलाई अध्यक्ष स्विकार्न राजी भयो । कोभिडका बेला औषधि लगायतको आयातमा व्यापक भ्रष्टाचार भएको भनेर डेढ दर्जनभन्दा बढी पृष्ठको दस्तावेज बनाएर जनसमक्ष जाने प्रचण्ड नै सत्ताको अवसर पाउँदा आफ्नै दस्तावेजमा भ्रष्ट भनिएकाहरूलाई क्याबिनेटमा मुख्य पद दिन राजी भए । कमरेडहरूको यो विगतले कम्युनिस्ट पार्टीमा यसबारेको बहस अलिक फितलो अनि सत्ताप्राप्ति र समाप्तिसँग मात्र जोडिएको छ भन्नेहरूलाई बलियो आधार दिइरहेको छ । फर्जी शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माका पक्षमा जसरी एक हूल कमरेड लागे र शर्मा हिरासतमुक्त हुनासाथ जसरी अध्यक्ष कमेरडलाई ‘पिता’ सरह भन्दै बालकोट–काखमा पुगे, त्यो देख्दा ललिता निवास प्रकरणमा लाभान्वित देखिएका विष्णु पौडेलसहित सुनकाण्डमा आरोपित कृष्णबहादुर महरासम्मलाई जोगाउन कमरेडहरूबीच राजनीतिक सौदाबाजी त भइरहेको छैन भन्नेहरू पनि छन् । अब किर्ते प्रमाणपत्रमा आरोपित कांग्रेसीले समेत चोखिन कमरेडी साथ खोज्न थालेका हुन सक्छन् । के कांग्रेसले मात्र भ्रष्टाचारको सजाय पाउने हो भन्ने प्रश्न गर्नेहरूका लागि हाल पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी एउटा केस भएका छन् । तर, अभियुक्त प्रमाणित भएमा मात्र उनी त्यस प्रश्नको जवाफ हुन सक्लान् भन्न सकिन्छ ।

भ्रष्टाचार सम्बन्धी कानुन र सीमा
भ्रष्टाचार निवारण ऐन–२०५९ को संशोधन, २०६६ माघ ७ को परिच्छेद २ अन्तर्गत दफा ३ देखि १९ सम्ममा भ्रष्टाचारको परिभाषा र कसुर केलाई बुझ्ने भन्ने उल्लेख छ । यी कसुरको उल्लेख गर्न करिब १४ पृष्ठ खर्चेको ऐनमा ‘राष्ट्रसेवक’ शब्द ४० पटकभन्दा बढी प्रयोग भएको छ । विभिन्न उपदफासहित ६५ दफामा रहेको ३८ पृष्ठ लामो उक्त ऐनमा परिभाषित विषय र भ्रष्टाचारमा समेटिन सक्ने कार्यहरूलाई हेर्दा त्यो बहालवाला राज्यकीय पदीय हैसियतका व्यक्ति, प्रशासनमा काम गर्ने सामान्य र प्राविधिक कर्मचारी, निर्वाचित प्रतिनिधि, सीमित कामकारबाहीको क्षेत्रबाहिर जान सकेको छैन । यहाँ प्रश्न उठ्छ— के यो ऐनले ‘भ्रष्टाचार’ शब्दको सही व्याख्या गर्न सकेको छ ? मलाई लाग्छ— छैन । भ्रष्टाचार गरेको मानिने कुनै काम गरी हाल विदेशमा रहेका गैरनेपाली समेतलाई कानुन लाग्ने प्रावधान रहँदारहँदै ६५ दफाको उक्त ऐनमा ६६ स्थानमा ‘राष्ट्रसेवक’ शब्द पारेर भ्रष्टाचार गर्ने या नियन्त्रण गर्ने दुवै काममा ‘राष्ट्रसेवक’ या सरकारको सिन्दूर लगाएका व्यक्तिको मात्र भूमिका र सहभागितालाई केन्द्रमा राखिएको पाइन्छ । निजी क्षेत्रदेखि गृहिणी र सुचीकारसम्मको राष्ट्रका लागि कुनै देन, जिम्मेवारी र जवाफदेही हुनुपर्दैन ? सार्वजनिक जीवनबाहिर बसेर पनि जिम्मेवारहरूलाई भ्रष्टाचार गर्न दुरुत्साहन र उत्प्रेरित गर्ने, त्यसको लाभ लिन तम्सिने र नहिचकिचाउने, अस्वाभाविक स्रोत र जीवनशैलीमा प्रश्न नगर्ने घरभित्रका, छिमेक र समाजका मानिस भ्रष्ट आचरण गर्नेमा पर्छन् कि पर्दैनन् ? ती र तिनको आचरण समेटिनुपर्छ कि पर्दैन ? व्यक्ति र समग्र समाज नसमेटिएका कानुनहरू भ्रष्टाचार निवारणमा पूर्ण र पर्याप्त हुन सक्दैनन् ।
सामान्य भाषामा, सार्वजनिक पद, कार्य/सेवा या सम्पत्तिको व्यक्तिगत लाभका लागि गरिने प्रयोगलाई भ्रष्टाचार भनिन्छ । सार्वजनिक जीवनमा स्थापित प्रावधान र मान्यतालाई उल्लंघन गर्नु भ्रष्टाचार हो, जुन सरकारी वा सार्वजनिक क्षेत्रमा मात्र नभई राजनीति, सुरक्षा र सामरिक महत्त्व, न्याय, शिक्षा, श्रम, धर्म, दर्शन, उद्योग लगायतका सबै पेसा र क्षेत्रमा हुन सक्छ । कुनै शिक्षकले कति समय र कुन विषयमा कति मिहिनेत गरेर पढाउने भनिएको छ, त्यसो नगरी काम फत्ते भएको भन्नु पनि भ्रष्टाचार हो । धान गोड्न लगाइएको खेतालाले आफ्नो मुख्य काम छोडेर माछा/साग खोज्न वा फोनमा गफ गर्न वा टिकटक बनाउन समय बितायो भने त्यो पनि भ्रष्टाचार हो । कतिपय प्रसंगमा यो विषयलाई रकमकलमसँग जोडेर पैसाको चलखेल हुनुलाई मात्र भ्रष्टाचार भन्ने गरिएको छ । पैसामा नाप्न नसकिने तर आफ्नो कामकर्तव्यबाहिरका गतिविधिलाई नैतिकतासँग जोड्ने चलन पनि छ । तर जे होस्, नेपालजस्ता मुलुकमा भ्रष्टाचार सर्वाधिक जनचासो र चर्चाको विषय बने पनि हाम्रो ऐन र बुझाइमा अझै स्पष्टता आउन सकेको छैन । परिणामतः, यो शब्द तेर्सिनासाथ हामी राजकीय ओहदा र त्यसभित्र पनि राजनीतिक नेतृत्वतर्फ इंगित गरिहाल्छौं । उदाहरणका लागि, सार्वजनिक ट्याक्सी/माइक्रो/बसले बारम्बार तोकिएभन्दा बढी भाडा माग्छÛ कसैले प्रश्न गरे रातोकालो भएर उसले आफूलाई ट्राफिक प्रहरीले, यातायात विभागले दिएको दुःख र लिएको नाजायज पैसाको सन्दर्भ कोट्याउँदै भन्छ, ‘हामीले पाएको यत्रो हैरानी र तिरेको रिस्वतचाहिँ कसले देख्ने नि ?’ ‘म पुलिस या यातायात विभागलाई पनि नाजायज रूपमा पैसा दिन्नँ र ग्राहकसँग पनि बढी लिन्नँ’ भन्ने नैतिकता या दम प्रायः यातायातकर्मीसँग हुँदैन । हुन्छ त के भने, त्यसैलाई देखाएर यात्रुहरूसँग बढी असुल्ने र सहजै यता लिने, उता दिने ।
भ्रष्ट र आचारको संयोजनभित्र राखेर हेर्ने हो भने हाम्रो समाजका कति मानिस अभ्रष्ट/स्वच्छ पाइन्छन् होला ? सरकारलाई तिर्ने राजस्व–दस्तुरदेखि वस्तु र सेवा उपभोगबापत लाग्ने करलाई व्यवस्थित गर्ने सन्दर्भका अनि माथि उल्लेख गरिएझैं सामान्य लाग्ने दैनन्दिनीमा हाम्रा प्रायः गतिविधि कहीँ न कहीँ अभ्रष्ट या सभ्य आचारभन्दा फरक देखिन्छन् नैÛ तर हामी यस प्रसंगमा औंलाचाहिँ अर्कैतिर तेर्साइरहेका हुन्छौं । व्यक्तिगत सहजताका लागि देशको मौजुदा कानुनलाई ‘अन्डरमाइन’ तुल्याउने र सामाजिक मर्यादाबाहिरका हर्कत गर्नेहरू नै ‘राष्ट्रसेवक’ का कमजोरी र सुशासनमा प्रभावबारे प्रश्न उठाएकै भरमा वाहवाही पाउने र नेता बन्ने माहोलले भ्रष्टाचारलाई प्रोत्साहन गर्छ । यस्तो प्रवृत्तिले भ्रष्टाचार निवारणमा सघाउने देखिँदैन । अर्कातिर, भ्रष्टाचार आरोपीमाथि प्रहरी छानबिन र तहकिकातको विरोध गरेकै भरमा दलहरूका नेता सामाजिक सञ्जालमा लोकप्रिय बन्ने अनि दबाब–प्रभावले रवाफका साथ आरोपी थुनामुक्त हुँदा अबीर–माला गर्ने प्रचलनले भ्रष्टाचारलाई बुझ्ने आम मनोविज्ञान विरोधाभासपूर्ण वा चरित्र दोहोरो रहेको देखाउँछ । अर्थात्, कामना भ्रष्टाचार निवारणको, काम भ्रष्टलाई प्रोत्साहन !

अराजनीतिक हतकण्डा र भ्रष्टाचार
अमेरिकन फुटबलका कोच भिन्सेन्ट थोमस लोम्बर्दीले भनेका छन्, ‘नेता आफैं जन्मिँदैन, बनाइन्छ ।’ समाजमा सबैले आफूलाई विभिन्न माध्यमबाट नेतृत्वमा लैजाने प्रयास गरिरहेकै हुन्छन् र तीमध्ये केहीलाई समाजले नेताका रूपमा स्विकारेको हुन्छ । जनमतका आधारमा नेतृत्वमा पुग्ने पद्धतिसँगै पछिल्ला चरणमा सामाजिक सञ्जालमार्फत नेता बन्ने अभ्यासलाई हेर्दा त लोम्बर्दीको भनाइ थप सान्दर्भिक देखिन्छ । हाम्रा नेताहरू हाम्रै सामाजिक आचरण र अभ्यासबाट पैदा भएका छन् । कसैको आफैंमा विभिन्न काण्डको पृष्ठभूमि छ, तैपनि समाजको कुनै एउटा तप्काको स्वार्थपूर्तिमा सहायक होला कि भनेर उसलाई धेरैले नचाहँदा–नचाहँदै सम्बन्धितहरूले मन्त्री या दलको नेता बन्ने हैसियतमा पुर्‍याइदिइरहेका हुन्छौं । नेतृत्वमा पुगेको त्यस्तो मान्छेबाट एकाएक सुशासन, पारदर्शिता या अरू चमत्कार खोजेर कहाँ हुन्छ र ? उसले गर्ने भनेको जानेको र सिकेको कामकुरै हो । यसभन्दा अन्यथा परिणाम खोज्नु हाम्रै कमजोरी हो ।
अन्त्यमा, अहिले चलिरहेको बहसलाई हाम्रा कानुन र दैनन्दिनीसँग जोड्न नसक्दासम्म भ्रष्टाचार अराजनीतिको हत्कण्डा नै भइरहनेछ । ४० वर्षपहिले भ्रष्टाचारको आरोपमा अविश्वास प्रस्तावमार्फत हट्न बाध्य सूर्यबहादुर थापाकै भनाइ यहाँ सान्दर्भिक हुन सक्छ, ‘हाम्रोजस्तो विकासशील देशमा भ्रष्टाचार र कुशासन सामान्य कुरा हुन्, जुन जुनकुनै बेला र मानेमा प्रयोग हुन सक्छन् । ती हाम्रा राजनीतिक स्टन्टम्यानसिपका हिस्सा पनि हुन् । भ्रष्टाचार सबैजसो विकासशील देशमा प्रतिपक्षको नारा हैन र ? यी कुनै गम्भीर आरोप होइनन् ।’ पञ्चायतकालमा दरबारको रोजाइका थापा एकाएक तेस्रो कार्यकालमा आएर ‘भ्रष्ट’ कहलिए, जो त्यसपछि पनि कहिले स्वयं राजाकै त कहिले बहुलवादीको रोजाइमा थप दुई पटक देशको प्रधानमन्त्री बनेबाट त्यो भनाइ हाम्रो सामाजिक धरातलनजिक र सही देखिन्छ । उनलाई राजनीति र सार्वजनिक जीवनका लागि अयोग्य बनाइएन वा मानिएन, अहिले यही प्रश्न अधिकांश ठूला र शक्तिशाली भनिनेमा पनि लागू हुन्छ । हरेकले हरेकलाई भ्रष्ट भनिरहने, स्वार्थ मिल्दा एकअर्कासँग कुम जोड्ने र बाझिँदा उही पुरानो भ्रष्टाचारको हतियार खोल्ने परम्पराले राजनीति दूषित र बदनाम भएको छ । सबै आरोपितमाथि छानबिन गर्न सबै दल सहमत नभएसम्म राजनीति सङ्लिने सम्भावना छैन । तर छानबिन कसले गर्ने ? अहिले भ्रष्टाचारीमाथि छानबिन र कारबाही सिफारिस गर्ने आयोग के साँच्ची दलीय राजनीतिभन्दा माथि, ‘संवैधानिक’ हैसियतको छ ? सार्वजनिक प्रशासनमा रहेर राजनीतिक नेतृत्वलाई भ्रष्टाचार कसरी गर्ने भनेर सुझाउने, सिकाउने र सहभागी भएर सन्तुलन मिलाउन सघाएबापत पुरस्कृत भएर काण्डैकाण्डको आरोप टाउकामा बोकेका आयुक्तले उनै नेता र सहकर्मीलाई तिनै काण्डबापत कारबाही अघि बढाउलान् कि बचाउमा सफाइ दिन लाग्लान् ? दलीय सहमतिमा बन्ने प्रस्तावित ‘नीति आयोग’ वा अन्य ‘उच्चस्तरीय’ संरचना अहिलेको अख्तियार र विगतका छानबिन आयोगभन्दा फरक होला ? यो यक्ष प्रश्न हो । समाजका सबै तप्कालाई ‘भ्रष्टाचार नगर्नु सामान्य नागरिक चरित्र हो, म पनि भ्रष्ट आचार गर्दिनँ, त्यसो गर्नेलाई ठूलो आदर्श पनि मान्दिनँ’ भन्ने समाजले मात्र सुशासनमा विश्वास गर्ने नेतृत्व उत्पादन गर्न सक्छ । यस दिशामा पाठ्यक्रम तथा प्रचारप्रसारका सामग्रीको निर्माण र सोही अनुरूपको ऐन–नियम अनि कार्यान्वयन संयन्त्रको खाँचो छ । तर त्यो अहिलेको सामाजिक सोचबाट सम्भव होला ?

 

Page 7
दृष्टिकोण

प्रधानमन्त्रीको उल्झन

- किशोर नेपाल

 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय राजधानीमा कार्यरत ‘छानिएका’ सम्पादक–पत्रकारहरूलाई गएको सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा भेटघाटका लागि निम्तो पठाउनुभएको थियो । दुर्भाग्यवश, त्यो दिन उहाँले पत्रकार भेटघाटका लागि समय मिलाउन सक्नुभएन । बालुवाटार वा ललिता निवास जग्गाको विवादमा दुई ‘सम्मानित’ नेता — पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराई — तानिएपछि उहाँहरू दुवैको व्यक्तित्वमा लागेको वा लाग्न खोजेको दागबारे छलफल हुँदै थियो ।
आफू गठबन्धनको सहयोग र समर्थनमा प्रधानमन्त्री बनेकाले गठबन्धनमा बाँधिएका नेताहरूको अवमानना गर्ने अवस्थामा प्रचण्ड हुनुहुन्नथ्यो । प्रधानमन्त्रीद्वारा प्रस्तावित सम्पादकहरूसँगको भेटघाट सोमबार हुन सकेन । तर, मंगलबार सम्पन्न भयो । लामो पत्रकारिता जीवनमा मैले कमै प्रधानमन्त्री पत्रकारहरूसँग भेट्न लालायित भएको देखेको छु । पञ्चायत व्यवस्था अन्तर्गत प्रधानमन्त्री हुनेमा तुलसी गिरि र सूर्यबहादुर थापा बोलक्कड मानिन्थे । धेरै त प्रेसबाट छड्किनै चाहन्थे । प्रजातन्त्रकालका प्रधानमन्त्रीहरूमा कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी पत्रकारहरूसँग रमाउँथे । गिरिजाप्रसाद कोइराला आफ्नो पद र व्यक्तित्वको रोब जमाउँथे ।
गणतान्त्रिक नेपालका प्रधानमन्त्रीहरूमा प्रचण्ड प्रेससँग रमाउँछन् । तर, यो भेटघाटका लागि बोलाइएका पत्रकारहरूसँग ताजा प्रश्नहरू थिएनन् । हारीजिती सम्पादक–पत्रकारहरूको हातमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका र युरोपका केही देशमा निर्यात गरिएको घटना थियो । यो धोबी–चुटानमा परेर चिथ्रो भएको घटनाजस्तो भैसकेको थियो । राष्ट्रियता, राष्ट्रिय आत्मसम्मान र देशभक्तिको कुनै पनि सूत्र नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर धन कमाउने लालचीहरूविरुद्ध देखिन सकेन । बंगलादेशको राजधानी ढाकामा भएको सार्क सम्मेलनमा नेपालमा रहेका भुटानी शरणार्थीको अवस्थाको चित्रण गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आर्तनाद गरेका थिए । त्यसपछि पनि केही भएन, कत्रो विडम्बना ! अब अहिले हल्ला मच्चाएर के हुन्छ ? बरबाद भैसकेको नेपालको प्रतिष्ठा साबुत फर्किन्छ ?
सुन तस्करीसँग सम्बन्धित प्रश्नमा पनि कुनै दम थिएन । सुन तस्करी गरेर वा गराएर दलाली खाने चलन उहिलेकै हो । राजाले निर्दलीय पञ्चायत व्यवस्थाका नाममा शासन व्यवस्था चलाएको समयमा सुर्खेत जिल्लाबाट तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढाले त्रिभुवन विमानस्थलको बाटो आफ्नै ज्यान बराबर तौलको सुन बोकेर ल्याएको घटना नेपाली जनताको सम्झनाबाट मेटिइसकेको छैन ।
रह्यो कुरा राजा महेन्द्रले ‘जायजेथा’ गरेको नेपाली कांग्रेसका नेता तथा २०१८ सालमा भएको राजा र पञ्चायत व्यवस्थाविरुद्ध विद्रोहका कमान्डर जनरल सुवर्णशमशेरको ललिता निवास र परिसरले चर्चेको भूमिको कुरा । प्रचण्डले यो विषयमा प्रवेश गर्दै यथार्थ कुरा बताउनुभयो— सरकारी स्वामित्वमा आएका देशभरिका भूमिको सुरक्षा हुन सकेको छैन । सरकारी सम्पत्तिलाई आफ्नो बनाएर दलाली गर्नेहरूको ठूलो गिरोह छ, देशभरि । यो भूमाफियाविरुद्ध दह्रै कदम चाल्नु जरुरी छ । तर, अहिले त समस्या बल्झिएको छ । संसद् चल्न सकेको छैन । समय सुस्थिर छैन, अस्थिर छ ।
यस्तो किन भयो ? २००७ सालको क्रान्तिले देशमा लोभको विस्तार गर्‍यो । राणा शासकहरूले गरेको मोजमज्जा जनताले देखेका थिए । त्यति बेलाको राजनीति काठमाडौंकेन्द्रित थियो । काठमाडौंको धनाढ्य वर्गमा राणा शासकविरुद्ध ईर्ष्याको भाव मजबुत थियो । राणाहरूले जस्तो खाने, लाउने, सिंगारपटार गर्ने र हैसियत देखाउने चलन त्यो परिवर्तनपछि नै सुरु भएको हो । कुलीन तन्त्रको प्रतिनिधित्व गर्ने वर्गसँगको ईर्ष्या भाव समाजमा हावी भएपछि राणाहरूको रवाफ रैथाने धनाढ्य वर्गमा सर्‍यो । रैथाने धनाढ्य वर्गमा पुँजी व्यवस्थापन गर्ने कौशल थिएन । त्यसैले देशमा गरिबीको विस्तार भयो । पुँजीको विस्तार हुन सकेन । लगानी नभएपछि पुँजीको निर्माण हुन सक्दैन । हरेक तहमा गरिबी फैलियो । अर्थशास्त्रीहरू भन्छन्— पुँजी विस्तार नभएको अवस्थामा गरिबी फैलिनु अस्वाभाविक होइन । जानिफकारहरू भन्छन्— नेपालका पुँजीपतिहरूले भारतमा पैसा थुपारेका छन् ।
प्रधानमन्त्रीलाई थाहा छ— समानता त समाजवादमा पनि आउँदैन । यो दुनियाँमा समाजवाद भनेको ‘युटोपिया’ हो । सामाजिक र आर्थिक विसंगतिको मूल कारण पत्ता नलगाएसम्म समृद्धि कतैबाट पनि आउँदैन । झन्डै चार हजार वर्ष पुरानो सभ्यतालाई धान्दै आएको देशमा धन नहुने त कुरै भएन । त्यो धन राजा–महाराजा, भाइ–भारदार, काजी–बडाकाजी कसको कब्जामा थियो ? यो कसैले भन्न सक्दैन । इतिहासविद्हरूले पनि यी तथ्यहरूको उत्खनन गर्न सकेका छैनन् । राजा–महाराजाको हैसियतमा रहेका नेपालका शासकहरू सधैं कमजोर रहे । धनकी देवी कमजोरसँग बस्दिनन् । यो स्वाभाविक हो ।
अघिल्लो चुनावपछि माओवादी केन्द्र एमालेमा मिसिएको थियो । नेपालका कम्युनिस्टहरूलाई एकै सूत्रमा बाँधेर शासन गर्ने प्रचण्डको चाहना थियो होला । तर, तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली यसको पक्षमा देखिएनन् । ओली र प्रचण्डसँगै बस्न पनि सकेनन् । अन्ततः प्रचण्डले कम्युनिस्ट एकताका लागि गरेको त्यो प्रयोग खेर गयो । दोस्रो चुनावपछि प्रचण्डले आफ्नो व्यक्तिगत र संगठित आकांक्षाको समायोजन गर्नुभयो । यो समायोजनको नतिजा सोचेभन्दा राम्रै निस्कियो । तर, नेपाली कांग्रेससँगको सत्ता सम्झौता अचानक भंग भएपछि प्रचण्डले ठूलो राजनीतिक कौशल देखाएर एमालेबाट सरकार निर्माणका लागि सहयोग लिनुभयो । तर, एमाले अध्यक्ष ओलीका राजनीतिक नखरा पचाउन प्रचण्डका लागि सजिलो थिएन । त्यसपछि उहाँले चालेका पाइलाहरू निर्णायक साबित भएका छन् ।
अहिलेको राजनीतिक परिदृश्यमा एमाले र उसका सहयोगी पार्टीहरू सरकारमा प्रचण्डको नेतृत्वविरुद्ध देखिएका छन् । तर, उनीहरू अहिलेको गठबन्धन तोड्न सक्ने अवस्थामा छैनन् । कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारविरुद्ध आक्रोश देखिन्छ । तर, त्यसको कुनै अर्थ छैन । प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवाका पनि असन्तुष्टिहरू छन् । तर, अहिले देउवा ती असन्तुष्टिलाई गिजोल्ने पक्षमा हुनुहुन्न । देउवाका लागि प्रचण्डको सरकार सुविधाजनक साबित भएको छ ।
तर, अहिलेको नेपाल कमजोर अवस्थामा छ । यसका आर्थिक, सामाजिक, सांस्कृतिक तन्तुहरू कमजोर भएका छन् । स्थानीय तह, प्रदेश र संघीय राजनीतिका घुमाउरा मोडहरूले विकासका कामहरू चलायमान हुन सकेका छैनन् । संघीय संसद्मा लगातार अराजक छाया मडारिएको छ । त्यसको प्रभाव प्रदेशमा परेको छ । सरकारले यी कुरा नबुझेको पक्कै होइन होला । त्यसका लागि आवश्यक गृहकार्य पनि गर्न सकेको छैन । संघीय गणतन्त्र नेपालको आकांक्षा त्यति बेला मात्र पूरा हुन सक्छ जति बेला संघको अभिभावकत्वमा प्रदेश र स्थानीय तहबीच समन्वय हुन्छ । त्यस्तो समन्वयको अभावमा न एक्लाएक्लै प्रदेशहरू चल्न सक्छन्, न त स्थानीय सरकारहरू नै चलायमान हुन सक्छन् ।
अहिलेको अवस्थामा संघीय सरकारको समन्वयकारी भूमिकाको समझ प्रधानमन्त्री प्रचण्डमा छ । तर, उहाँलाई अन्य विषयगत बेहोराले लखेट्न खोजेका छन् । देशको शासन–प्रशासनमा जुटेको कुनै पनि पार्टीको हैसियत पार्टीको जस्तो छैन । स्थानीय र प्रादेशिक तहका राजनीतिक नेतृत्व अनुदानको आशामा खुम्चिएको छ । मानिसलाई आफ्नो सामर्थ्यमा विश्वास छैन, नेताहरूको कृपामा निर्भर छ उनीहरूको जीवन । प्रादेशिक र स्थानीय तहको कुनै पनि पार्टीका नेताहरूमा एक जना मात्रै भए पनि सक्षम र इमानदार मानिस संघीय संसद्मा पुर्‍याउँदा नै देशको भलो हुन्छ भन्ने चेतना छैन ।
राजनीतिक दलहरू, चाहे ती जुनसुकै सिद्धान्तका वाहक होऊन्, अर्थ र गौरवको वाहक हुनुपर्छ । समाजवादी चिन्तक प्रदीप गिरि र प्रचण्डबीचको संवादमा दुवै नेताले पार्टीहरू गिरोह भएको चर्चा गर्नुभएको थियो । पार्टीका स्वार्थप्रेरित समूहका सदस्यहरूको बढोत्तरीका लागि पार्टीलाई गिरोह बनाइएकामा दुवै नेता क्षुब्ध हुनुहुन्थ्यो । वास्तवमा, त्यो क्षोभको कारण थियो । त्यस्ता गिरोहका अधिकांश सदस्य आफूले आन्दोलनमा योगदान दिएको गफ गर्थे । तर, नेपालमा जति पनि राजनीतिक आन्दोलन भएका छन्, ती नेताको नेतृत्वका कारणले होइन जनताको जागरणका कारणले भएका छन् । पार्टीहरू लोकतान्त्रिक छैनन् । नेतातन्त्रले डोर्‍याएको छ तिनलाई ।
प्रधानमन्त्री प्रचण्डका लागि अहिलेको अवस्था सामान्य छैन । एकातिर, काठमाडौं लगायतका सहरी क्षेत्रमा मानिसहरूको कोलाहल छ भने अर्कातिर अभावले तन्नम भएका जनता कहालिएका छन् । वैदेशिक रोजगारीका नाममा देशबाट हरेक दिन लगभग २,३०० मानिस विदेश पलायन हुँदै छन् भने शिक्षा आर्जन गर्ने नाममा ६०० युवकहरू बाहिरिँदै छन् । यो अवस्थालाई छिटोभन्दा छिटो नउल्टाएसम्म देश भासबाट उत्रिन सक्दैन । यसका लागि प्रधानमन्त्री प्रचण्डको एकाग्र भाव चाहिन्छ । देशको प्रधानमन्त्रीलाई सधैं सुन तस्कर र भूमाफियामै उल्झाइराख्ने हो भने बाँकी काम कहिले गर्ने ? कहिले हामी आत्मनिर्भर हुने ?
प्रश्न प्रचण्डको मात्र होइन । भोलि प्रधानमन्त्री हुने जोकसैले पनि कि कामै गर्न हुँदैन कि त अहिलेदेखि नै शासनमा लागेको जालो हटाउनुपर्छ । प्रधानमन्त्री प्रचण्डले सम्पादक–पत्रकारहरूसँग छलफल गर्नुभएको छ, सरसल्लाह लिनुभएको छ । यो गतिलो कुरा हो । सम्पादक–पत्रकारहरूले सडकमा जथाभावी छरिएका कुरातिर मात्र प्रधानमन्त्रीको ध्यान
आकर्षित नगरेर देशका मुख्य समस्यामा एकाग्र गराउन सके त्यो अत्यन्त गतिलो योगदान हुनेछ ।

दृष्टिकोण

मनोस्वास्थ्यका लागि सकारात्मकता

- डा.धनरत्न शाक्य

सकारात्मकता, नकारात्मकता र तटस्थताको अन्तरद्वन्द्वले जीवन, समाज र समयको अवस्था तय भइरहेको हुन्छ । कहिले सकारात्मकता त कहिले नकारात्मकता हाबी हुन्छ । यी दुवैको सन्तुलनबाट मानिस, समाज र युग निर्देशित हुन्छन् । जे छ, त्यसबारे सचेत र सजग भएर सकारात्मकताको संवर्द्धन, प्रवर्द्धन गर्ने तथा नकारात्मक परिस्थिति भए कारण पहिचान गरेर उपयुक्त व्यवस्थापन गर्नु महत्त्वपूर्ण हुन्छ । सबै कुरालाई निर्देशित, सञ्चालित र परिभाषित गर्ने मनको अवस्था र स्वास्थ्यका सन्दर्भमा पनि यो कुरा लागू हुन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् १९४८ तिरै स्वास्थ्यको परिभाषा गर्दा शारीरिकसहित मानसिक र सामाजिक पक्षलाई अन्योन्याश्रित भनेको थियो । अहिले यसमा आध्यात्मिक आयाम पनि थपिएको देखिन्छ । मनोसामाजिक आयाम शारीरिकजस्तै महत्त्वपूर्ण छ भन्नेमा दुविधा छैन । मानसिक रूपले स्वस्थ मानिस जीवनमा रमाउँछ, बेचैन हुँदैन । जीवनलाई उद्देश्यतिर डोर्‍याउँछ । काम गर्ने, फुर्सदको समय बिताउने र जीवन जिउने आफूअनुकूल तरिका बनाउँछ । परिवार र समाजसँग सामञ्जस्यपूर्ण जीवन जिउँछ, अप्ठेरो र तनाबसँग जुध्न सक्छ । अरूलाई सघाउँछ र आवश्यक पर्दा अरूको सहायता माग्छ, पाउँछ । समाजका लागि सक्दो योगदान दिन्छ । प्रतिकूल र नकारात्मक पक्षसगको समायोजन र सामञ्जस्यता राख्न सक्छ । उसले मानसिक स्वास्थ्यको प्रवर्द्धन र जीवनस्तरको उन्नति, मनोसामाजिक समस्याको रोकथामसहित मानसिक रोगको उपचार, व्यवस्थापन र पुनःस्थापनको बृहत्तर आयाम समेट्छ ।
हामी जेजस्तो सोच्छौं, त्यसले हाम्रो अनुभव र व्यवहारलाई प्रभाव पार्छ । राम्रो सोचे मनस्थिति राम्रो हुन्छ, जाँगर चल्छ र उत्साह पैदा हुन्छ । सामान्य अवस्थामा मात्र होइन, समस्या, पीर, चिन्ता, अप्ठेरो, रोग, शोक, तनावमा पनि आशावादी र सकारात्मक भएर अगाडि बढ्दा परिस्थिति सामना गर्न, त्यसबाट पाठ सिकेर बृहत्तर रूपमा अगाडि बढ्न सघाउँछ । सकारात्मक हुनुको अर्थ, जे छ, त्यही बुझ्नु र यथार्थपरक हिसाबले अगाडि बढ्नु हो । हरपल सजग र सचेत रहेर कोसिस जारी राख्नुपर्छ । अनुकूल र सुख भए त्यसलाई अगाडि बढाउने, प्रवर्द्धन गर्ने प्रयास गर्नुपर्छ । प्रतिकूलता र दुःख भए राम्रो छ भनेर बुझ्न सकिन्न । बरु त्यसबारे चिन्तनमनन गर्न आवश्यक हुन्छ । त्यसका कारण र समाधानका उपाय केलाएर, देश, काल, परिस्थिति अनुसार अहिलेको सर्वोत्तम उपाय चयन र अवलम्बन गर्दै अगाडि बढ्नु नै सही अर्थमा सकारात्मक हुनु हो ।
मानिसका व्यवहार, बोली, मिजास, इन्द्रिय ज्ञान, होस, चेतना, स्मृति, बुद्धि, निर्णय र अन्तरमनको ज्ञानसहित सोचविचार भनेको मनको काम, प्रक्रिया वा उपज हो । मनले नै तिनको नियमन, नियन्त्रण र कार्यान्वयन गर्ने हो । सकारात्मक सोच्ने, सन्तुलित व्यवहार गर्ने वा सापेक्ष अनुभव गर्ने भन्दाभन्दै र प्रयत्न गर्दागर्दै पनि यदाकदा कतिपय मानिसमा मनका यी काम आफ्नो नियन्त्रणभन्दा बाहिर जान सक्छन् । सोच ज्यादा आउने वा सोच्नै नसक्ने, नबुझ्ने, अनुपयुक्त, असान्दर्भिक, अनावश्यक, नमिल्दो विचार र चिन्ताले मतिभ्रमसम्म हुन सक्छ । विविध पाटामा समस्या भएर लामो समय सोच–विचार सकारात्मक, नकारात्मक वा असान्दर्भिक भई नियन्त्रणबाहिर जानु रोगको अवस्था हो । यस्तो अवस्था धेरैलाई भइराखेको हुन्छ । यस्तो बेला दक्ष, तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिनुपर्छ । मानसिक रोगै भएको अवस्थामा नकारेर बस्नु सकारात्मक होइन, बरु अवस्था मनन गरेर बिरामी र परिवारजन उपचार व्यवस्थापनमा लाग्नु सकारात्मक हो । उपचार व्यवस्थापनले मानसिक रोग, मनोसामाजिक समस्या र तिनबाट आउने धेरै जटिलता हटाउन सकिन्छ ।
हाम्रो देशको समग्र मानसिक स्वास्थ्यको अवस्थामा केही सकारात्मक परिवर्तन भएका छन् । तर समग्रमा अवस्था दयनीय देखिन्छ । जनमानसमा यसबारे पर्याप्त जानकारी छैन । त्यसैले उनीहरू सजग र जागरुक देखिँदैनन् । यसबारे अन्धविश्वास र मिथ्या छन् । सरकार, नेतृत्व वर्ग र आम सञ्चारको यथोचित नजर र प्राथमिकतामा यो परेको देखिँदैन । मनोसामाजिक समस्या र मानसिक रोगलाई बढावा दिने कारक व्यापक छन् । मनोरोग र आत्महत्याजस्ता यसबाट सृजित जटिलताहरू व्याप्त छन् । तर त्यसबारे कसैले सही मनन गरेको देखिँदैन । उपचार, व्यवस्थापन र पुनःस्थापनाका सेवा, सुविधा र पूर्वाधार नगण्य छन् । यस्तो परिस्थितिमा, मानसिक स्वास्थ्यका लागि सकारात्मक पहुँच केके हुन सक्लान् भनी मनन गर्न अति आवश्यक छ । केही मुख्य पक्ष यस्ता छन्—
१. मानसिक रोग र समस्या भएमा समयमै निदान र उपचार गर्नुु/गराउनु र यसमा सहयोग गर्नु ।
२. मानसिक स्वास्थ्य सेवा र आवश्यक पहलका लागि आवाज उठाउनु, पैरवी गर्नु, कदम चाल्नु र व्यवस्था गर्नु ।
३. मनोरोगीप्रति सद्भाव, सहयोग र विभेदरहित व्यवहार गर्नु ।
४. मानसिक स्वास्थ्य प्रवर्द्धन र मनोरोगको रोकथामका लागि अनुकूल माहोल बनाउनु र यसतिर अविच्छिन्न प्रयासरत रहनु ।
शाक्य वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।

दृष्टिकोण

चुरे सकल मूद मंगल मूला !

- चन्द्रकिशोर

 

असार–साउनमा जुन क्षेत्रमा खानेपानीको संकट देखिएको थियो, त्यहाँ मनसुनी वर्षा उत्सवजस्तै भयो । पानीको एकएक थोपा राहत बोकेर झर्‍यो । पानीको प्रत्येक थोपाले आशा र भरोसालाई प्रतिनिधित्व गर्‍यो । पानी–संकटले त्रस्त समाजले वर्षाको हरेक थोपालाई मन–प्राणले स्वागत गर्‍यो । यस्तो अनुभूति भयो— फेरि धरतीले नयां तरीकाबाट जीवनको सुरुआत गरिरहेको छ । पानी दर्कियो, खूब दर्कियो । खेतसँगै आलीहरू पनि छोपिए । हरिया घाँस–दुबो उम्रिए । चिराचिरा पर्न थालेका खेतहरू मनभरि भिजे । किसानहरूले धान रोपाइँको सुरसार थाले । चर्को गर्मीले बेहाल जनजीवनमा एकाएक फुहारले बहार ल्यायो । अनि पो भनिन्छ— धरतीको उत्सव हो वर्षा ।

ॅफेस सेभिङ’ भयो झरी
यस पालि मनसुनी वर्षा ढिलो आयो तर आउनचाहिँ आयो । पछिल्ला साताहरूमा तराईमा वर्षा नभएको भए के हुन्थ्यो ? कल्पना गर्दा पनि एक भयावह दृश्य अगाडि आउँछ । वर्षाअघि मधेश प्रदेश तथा तराईका अन्य केही जिल्लामा खानेपानीको संकट मुखर भएर आयो । अनि पालिका हुँदै प्रदेश मुख्यालय र संघीय राजधानीसम्म चल्यो पानी राजनीति । यो साउने झरीले धेरै अनुहारलाई छोपिदियो । हालका लागि ‘फेस सेभिङ’ हुन पुगेकामा रिमझिम–रिमझिम झरीको सबैले मजा उठाए । भ्युटावर, प्रवेशद्वार, यत्रतत्र सौन्दर्यीकरण, कंक्रिटीकरणमा व्यस्त र मस्त पालिकाप्रमुखहरू अचानक जेठ–असारमा प्रकट भएको पानीको हाहाकारयता कुम्भकर्णी निद्राबाट ब्युँझिएजस्ता भए । यस क्षेत्रमा सक्रिय राजनीतिक दलहरूलाई पनि करेन्ट लागेजस्तो भयो । कसैले यता ज्ञापनपत्र बुझाए, कसैले उता प्रेस मिट गरे । कसैले वल्लो टोलमा पानी ओसारे, कसैले पल्लो टोलमा डिप बोरिङ गराउन थाले । एउटा टोलीले संघीय खानेपानी मन्त्री महेन्द्र यादवसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा राख्न नभ्याउँदै अर्को टोली फोटो खिचाउन लाम लाग्न पुग्यो ।
उसो त खानेपानीको व्यवस्थापनबारे संघीय खानेपानी मन्त्रीसँग प्रशस्त आइडिया छन्, जसको झलक उनी मौका पाउनासाथ देखाइहाल्छन् । उनीसँग विगतमा सिँचाइ मन्त्रालय सम्हालेको अनुभवसमेत छ, त्यसैले गफ दिन सहज छ । यसबीच तिनको पैतालामुनिको धरातल सुस्तरी सर्‍यो भने अचम्म नमाने हुन्छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ठूलठूला समस्या व्यवस्थापनको चम्किलो प्रकाशमा उभिन पुगेकाले होला, चारैतिर तिरीमिरी मात्र देख्छन् । यस्तोमा तराईको खानेपानी संकट त खुद्रा समस्या पो हो भन्ने उनलाई लाग्छ ।

भूजलको खस्किँदो स्तर
वर्षाको अनिश्चितता छ । कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुन्छ । पछिल्ला वर्षहरूमा यो चक्र झन्झन् निर्दयी बन्दै आएको छ । मधेशको कृषिलाई ‘मनसुनी हावासँगको जुवा’ भन्ने गरिन्छ । हजारौं वर्षदेखिको मनसुनमा आधारित कृषि प्रणाली अब ध्वस्त हुँदै गएको छ । बूढापाकाको सम्झनामा यस पटक धेरै वर्षपछि लामो खडेरी देखियो । पर्याप्त पानी नपरेको लामै समय भयो । यस पटक देखिएको व्यापक पानी–संकट पहिलो पटक हो भन्नेहरू धेरै देखिए । वर्षा याम त यस्तो भयो, झन् माघ–फागुनतिर कस्तो होला ? कुनैकुनै वर्ष जाडो सुरु नहुँदै पोखरीहरूमा पानी घट्न थालिहाल्छ, यस पटक पनि त्यस्तै हुने छाँटकाँट छ । भूजलको स्तर अझ खस्किने आकलन गरिँदै छ । आकाशे पानीले केही साता–महिना संकट त टारिदेला तर मूल समस्याहरू ज्युँका त्युँ रहन्छन् ।
भनिन्छ, समयको अतीतमै समेटिएको हुन्छ समयको भविष्य । अतीतको यथार्थ नबुझेसम्म वर्तमान र भविष्यको व्यवस्थापन गर्न सकिँदैन । आसन्न संकट टर्छ वा टर्दैन भन्ने कुरा अब राजनीतिकर्मीहरूको अग्रसरता, क्रियाशीलता एवं समझदारीले निर्धारण गर्छ ।
पानीको संकट टार्न खानेपानी मन्त्रीसँग कुनै जादुको छडी छैन । कुनै पालिकाले चाहेर पनि एक्लै यसलाई व्यवस्थापन गर्न सक्दैन । केन्द्रीकृत राज्य संरचना लोकतन्त्रको अक्षुण्णताका लागि अवरोधक रहेछ भन्ने कुरा अहिलेको संकटले पनि पुष्टि गरेको छ । पानीको संकट स्थानीय स्तरमा कस्तो देखियो ? प्रादेशिक स्तरमा यो कुन सघनताका साथ व्याप्त छ ? छेउकै अन्य प्रदेशतिर कस्तो अवस्था छ ? यसबारे साझा विमर्शको आवश्यकता छ । के तराईमा पानीको संकट वर्षा अनियमित हुँदा भूसतह रिचार्ज हुन नसक्नुको परिणति हो ? के चुरेको क्षयीकरण, पानीको संकट र मधेशको भविष्य एकअर्कासँग अभिन्न छन् ? मधेशमा पानीको हाहाकारको कारक कतै पहाड र हिमालमा लुकेको त छैन ? भौगोलिक रूपमा तराई, पहाड र हिमालमा भिन्नता देखिए पनि प्राकृतिक रूपमा एकअर्कासँग अभिन्न हुने अवस्था छ ?
पोखरी, कुवा, सिमसारहरू विकासका नयाँ योजनाहरूमा निकै उपेक्षामा परेको छ । सहरी क्षेत्रमा मात्र होइन, स्थानीय सरकार आएपछि त गाउँदेहाततिर पनि पोखरी–कुवा मासिएका छन्, अतिक्रमित भएका छन्, पुरिएका छन् । जम्मा भएको वर्षाको पानीले सम्बन्धित क्षेत्रको भूजलको स्तर उठाउँथ्यो । तर, त्यसैलाई हामीले नष्ट गरिदियौं । भूइँमा पानी सोस्ने स्थिति बनाएनौं, ढलानीकरणको विकासे मोडलले त्यस्तो अवस्था बन्नै दिएनौं । रिचार्ज गरेनौं, केवल तान्ने उपक्रम गर्‍यौं । भयानक चूक भयो । कुनै समय पानीको प्रबन्धनसँग जोडिएको देशज ज्ञान थियो, जसलाई स्थानीय सरकारहरूले अभिलेखीकरण गर्नुपर्नेमा त्यसलाई बिर्से ।
पानीमाथिको पहुँचको लडाइँ तराईमा द्वन्द्वको नयाँ क्षेत्र हुनेछ । यता पानीको बजार मौलाएको छ । मानव सूचकांकमा पछाडि रहेका बहुसंख्यकको बसोबास रहेको क्षेत्रमा पानी किनेर खान सरकारले कसरी भन्न सक्छ ?

बरबाद माटो र पानी
पानी–संकटको तत्काल हल खोज्ने गोलचक्करमा झन् समस्याको दलदलमा फसिँदै छ । तराईको त माटो र पानी दुइटै बरबाद भयो । एक जमानामा अन्नको भण्डार मानिने तराई अहिले चुरेको दोहनले बालुवाकरण, ससाना खोला–नदीको बहावक्षेत्रको विस्तारीकरणले समस्यामा परेको छ । रासायनिक खाद र विषादीको अत्यधिक प्रयोगका कारण समतल क्षेत्रको माटोले मौलिकता गुमाएको छ । यता तराईको जीवनशैली पानीको अत्यधिक प्रयोगमा आधारित थियो । तराई झरेपछि पानी–प्रयोगमा कन्जुस्याइँ हास्यको विषय मानिन्थ्यो ।
तर कहाँ चुके समाज र सरकारहरू ? सच्याउनुपर्ने कुराहरू केके हुन् ? यी प्रश्नको स्पष्ट एवं निर्भीक उत्तर खोज्न र इमानदारीपूर्वक सच्याउन अरू ढिलो गर्न नहुने अवस्थामा हामी पुगिसकेका छौं । कल्पनै गर्न नसकिने ‘सामूहिक पलायन’ रूपी दलदलमा हामी फस्नेछौं । परिस्थितिले हामीलाई त्यतैतिर धकेलिरहेको छ ।
तराईमा जनघनत्व बढेसँगै हामीले सामान्यभन्दा बढी भूगर्भ जलको दोहन गर्न थालेका छौं । हामीले भूमिगत पानीको दोहन गर्ने तौरतरिका र जीवनशैलीको व्यवस्था त गर्‍यौं तर भविष्यको आवश्यकता पूरा गर्न भूगर्भीय पानीको रिचार्जिङतर्फ सोचेनौं । महात्मा गान्धीले यस्तै सन्दर्भमा भनेका थिए, ‘प्रकृतिले सबैको खाँचो त पूरा गर्न सक्छ तर ऊसँग मान्छेहरूको लोभपूर्ति गर्ने सामर्थ्य छैन ।’ यता नेपालको तराईमा पानी संकट छँदै छ, उता सीमावर्ती भारतीय राज्य बिहारमा नल जल योजना ल्याएर भूगर्भीय पानीको अधिक दोहन गरिँदै छ, जसको आफ्नै अर्थराजनीति छ । तर बिहार र उत्तरप्रदेशको राजनीतिले चुरे विनाशसँग उनीहरूको भविष्य गाँसिएको तथ्य बुझ्न जति ढिलो गर्छ, त्यति नै भारतका यी राज्यहरूको भविष्य अनिश्चित र अस्थिर रहन्छ ।
‘सुक्खाले चेप्यो’ भन्ने होहल्ला नसकिँदै बाढीको ताण्डव आइपुग्छ, त्यसको केही अन्तरालमा सुरु हुन्छ ‘शीतलहर’ । यो हो बर्सेनिको तराई–चक्र । यस्ता संकटहरू आउँदा वर्षहरूमा अझै गहिरिनेछन् भन्न धेरै अध्ययनको आवश्यकता पर्दैन । काठमाडौंका विज्ञहरूको आफ्नै बुझाइ छ, यता समतलमा काम गर्नेहरूको आफ्नै ठम्याइ छ । पानीको संकट तराईमा बर्सेनि किन बाक्लिँदै छ भन्ने स्पष्टताको खाँचो छ । दक्षिणी समतलदेखि माथि सगरमाथा (हिमालय पर्वत शृंखला) सम्म पानीको उपलब्धता, संरक्षण, देशज ज्ञान र चूकहरूबारे सामूहिक लेखाजोखाका लागि चरणबद्ध संवादको खाँचो छ । तराईले पहाडसँग पानीबारे कुरा गर्न वा पहाडले मधेशसँग बात गर्न अलमलिनुपर्ने कुनै कारण छैन । प्रादेशिक अभ्यासका लागि तराईकेन्द्रित मधेश प्रदेश
भए पनि मधेशका अन्य क्षेत्रमा पहाड–तराई गाँसिएको छ ।
अबको पानी राजनीतिले नेपाली समाज र संकटलाई फरक ढंगले हेर्ने सामूहिक विवेकको आग्रह गर्छ । राजनीतिकर्मीहरूका भुइँ छाडेका पैतालाहरू भुइँमै नफर्केसम्म सीमान्तीकृत एवं वञ्चित समूह थप शोषित हुनेछ । जनताको वितृष्णा भने
बढ्दै गइरहेको छ ।

बिन पानी सब सून
म आज पनि सम्झिन्छु, सानै बयमा मलाई हजुरबुबाले घोकाउनुभएको थियो, ‘सा ते भवतु सुप्रीता देवी शिखर वासिनी, उग्रेण तपसा लब्धो यया पशुपतिः पतिः ।’ जसको अर्थ हुन्छ— हिमालयको शिखरमा बस्ने देवी तिमीमाथि प्रसन्न होउन्, जसले कठिन तपस्या गरेर भगवान् शिवलाई दुलहाका रूपमा पाएकी छन् । उहाँले दोहोराईरहने अर्को पंक्ति हुन्थ्यो, ‘चुरे सकल मूद मंगल मूला, सब सुख करनी हरनि सब सूला ।’ त्यतिखेर यसको गूढार्थ बुझ्न सकिएन, तर पछिपछि यसो गम्न थाल्दा थाहा पाएँ— यो त सीमान्त क्षेत्रका बासिन्दाहरूलाई हिमालय र चुरे पर्वत शृंखलासँगको सम्बन्ध र साइनो बताउने देशज तरिका पो रहेछ । म अलि बुझ्ने भएपछि उहाँ भन्नुहुन्थ्यो— मधेशले हिमालय र चुरेलाई भावनात्मक रूपमा आफ्नो मान्नुपर्छ ।
उहांँका कुरामा पारम्परिक सूत्रहरू बिलकुलै नयाँ संवेदना, नयाँ दृष्टि तथा नूतन प्रतीक एवं विम्ब लिएर उपस्थित देखिन्छन् । उहाँको भनाइमा गहिरो पर्यावरणीय–सांस्कृतिक लगाव छ, सँगै नयाँ हिमालय–चुरे विमर्शतर्फ जान उत्प्रेरितसमेत गर्छ । चुरे क्षेत्रको अत्यधिक संवेदनशीलता र त्यसले देशको जनजीविका र जैविक विविधतामा राख्ने गहिरो प्रभाव बुझ्न सकिन्छ । चुरे शृंखला भनेको हिमालय पर्वत शृंखलाको दक्षिणमा रहेको, माथिबाट बगेर आएका सामग्रीले बनेको सबैभन्दा कान्छो, सबैभन्दा कमलो र सबैभन्दा कमजोर क्षेत्र हो । जन र जीविका, जलभण्डार, जैविक विविधताले भरिपूर्ण । चुरे यस्तो क्षेत्र हो जहाँ कुनै डाँडामा अलिकति खोस्रिने हो भने त्यसले लामो समयसम्म त्यहाँको सतहलाई अस्थिर बनाइदिन्छ । चुरेबारे कोलाहल कम छैन तर यथार्थमा चुरे क्षेत्र झन्झन् थिलथिलो बनिरहेको छ । हिमालय छ र तराई छ । तराईले हिमालयलाई थामेको छ । पानी–संकटको समाधान सबै एकै ठाउँमा खडा नभई सम्भव छैन ।

Page 8
परदेश

चीन र भारतबीच सीमा समस्यामा जुटेन सहमति

- राजेश मिश्र

(नयाँदिल्ली)
पूर्वी लद्दाखको गलवानमा तीन वर्ष अगाडि भएको सैन्य झडपपछि भारत र चीनबीच सैन्य कमान्डर स्तरमा लगातार छलफल भइरहे पनि समाधान निस्कन सकेको छैन । वार्ताको निरन्तरता स्वरूप गत आइतबार र सोमबार (अगस्ट १३–१४) मा दुई पक्षबीच सीमावर्ती क्षेत्र भारतीय भूभाग चुसुल मोल्डोमा छलफल भएको छ ।
तर, उक्त वार्ताले पनि सीमा क्षेत्रमा
शान्ति कायम राख्ने ठोस आधारहरू पहिल्याउन सकेन ।
वार्तापछि जारी संयुक्त वक्तव्यमा पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) का विषयमा बाँकी रहेका मुद्दालाई छिट्टै हल गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ । नेतृत्वबाट प्रदान गरिएको मार्गदर्शन अनुसार खुला र दूरदर्शी तरिकाले विचारको आदानप्रदान भएको पनि वक्तव्यमा जनाइएको छ । भारतको विदेश मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ– ‘बाँकी मुद्दाहरूलाई हल गर्न सैन्य र कूटनीतिक माध्यमबाट संवादलाई गति दिने विषयमा सहमत छौं ।’ सीमावर्ती क्षेत्रमा शान्ति बनाइराख्न पनि दुवै पक्ष सहमत रहेको वक्तव्यमा भनिएको छ ।
दुई देशबीच पूर्वी लद्दाखको कैयौं सीमा बिन्दुलाई लिएर मतभेद छ । दुवै देशका सेनाबीच झडप भएको तीन वर्ष बितिसक्दा पनि सीमा विवादको मुद्दाकै कारण दुई देशबीचको स्थिति सामान्य हुन सकेको छैन । सीमामा कुनै पनि बेला तनाव उत्पन्न हुन सक्ने संशय यथावत् छ । एक सातापछि दक्षिण अफ्रिकामा हुन लागेको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुँदै छ । त्यसको पूर्वसन्ध्यामा भएको सैन्य कमान्डर स्तरीय वार्ताले केही हदसम्मको सहमति जुटाउने अपेक्षा गरिए पनि सफल हुन नसकेको हो । मोदी र सीबीच सेप्टेम्बर ९ र १० मा नयाँदिल्लीमा पनि भेटवार्ता हुँदै छ । भारतले आयोजना गर्ने जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपति आउन लागेका हुन् ।
सन् २०२० जुन १५ मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकहरू एकआपसमा भिडेका थिए । त्यसयता कतिपय क्षेत्रबाट चिनियाँ सैनिक फिर्ता भए पनि अझै केही क्षेत्रमाथि उनीहरूले आफ्नो दाबी छाडेका छैनन् । भारतमा विपक्षी दलहरूले पूर्वी लद्दाख सीमा क्षेत्रका ६५ वटा पेट्रोलिङ प्वाइन्टमध्ये २६ वटामा भारतले अधिकार गुमाएको भन्दै आएको छ । तर, सरकारले भारतको भूमि नगुमेको दाबी गर्दै आएको छ । सीमा क्षेत्रमा गस्तीमा रहँदा हतियारको प्रयोग नगर्ने दुवै पक्षबीच सम्झौता छ । हतियारको प्रयोग नभए पनि तीन वर्ष अगाडि दुवै पक्षका सैनिकबीच हिंस्रक झडप भएको थियो ।
त्यसमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएका थिए । उक्त घटनापछि सैन्यस्तरमा वार्ताहरू भएका छन् । कूटनीतिक भेटघाटहरू पनि जारी छन् । तर, वास्तविक नियन्त्रण रेखाको विषयमा कुनै सहमति जुट्न सकेको छैन ।
स्थिति पूर्ववत् अवस्थामा नफर्किएपछि भारतले सीमावर्ती क्षेत्रमा सैनिकको संख्या र सैन्य सामग्री बढाउँदै लगेको छ । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले अगस्ट १४ मा प्रकाशित गरेको एक रिपोर्टअनुसार लद्दाख क्षेत्रमा भारतले ७० हजार हाराहारी सैनिक तैनाथ गरेको छ । त्यस्तै, ९ हजार टन सैन्य सामग्री पनि एयर लिफ्ट गरिएको छ ।
भारतले सीमा क्षेत्रसम्म पुग्ने सडक लगायतका भौतिक पूर्वाधारको सुधारमा पनि प्रशस्तै लगानी गरेको छ । चीनका तर्फ पनि ५०–६० हजार सैनिक तैनाथ गरिएको अनुमान छ । भारत सरकारले सीमा क्षेत्रमा शान्ति नभएसम्म चीनसँगको सम्बन्ध अगाडि बढ्न नसक्ने जनाउँदै आएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले आफूहरू चीनसँग निरन्तर संवादमा रहेको र सीमामा शान्ति नभएसम्म सम्बन्धलाई अगाडि बढाउन समस्या हुने दोहोर्‍याउँदै आएका छन् । भारतले विगतमा भएका सम्झौताहरूको पालना गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
सीमा विवाद कायम रहे पनि चीनसँग भारतको व्यापार भने बढेको बढ्यै छ । सस्तो सामानका लागि चीनमाथि भारत निर्भर छ । सन् २०२१ मा चीनसँग भारतको व्यापार १ सय २५ अर्ब अमेरिकी डलरको थियो । त्यसमा ९४.५७ अर्ब डलरको सामान भारतले चीनबाट आयात गरेको छ । जब की २८.१ अर्ब डलरको सामान मात्रै चीनमा निर्यात गरेको छ ।
त्यसभन्दा अघिल्लो वर्ष दुई देशबीच भएको ८६ अर्ब डलरको व्यापारमा भारतले ६५ अर्ब डलरको आयात मात्रै थियो । २०२२ मा दुई देशबीचको १ सय ३६ अर्ब डलरको व्यापार भएको थियो । उक्त वर्ष चीनसँग भारतको व्यापार घाटा एक सय अर्ब डलर नाघेको थियो । लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुनुपूर्व २०२०–२१ मा चीनसँग भारतको व्यापार घाटा ४४.३३ अर्ब डलर थियो ।

परदेश

छोटकरी

- कान्तिपुर संवाददाता

लयमा फर्किंदै इटालीको पर्यटन उद्योग
रोम (एजेन्सी)— इटालीको गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलबारदेखि सुरु भएको छ । मंगलबारदेखि नै इटालीमा पर्यटकहरूको आगमन रेकर्ड ब्रेक भएको बताइएको छ । कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको हो । यस वर्ष इटालीमा पर्यटकको संख्या धेरै हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ मा ९ करोड ६० लाख पर्यटकले इटालीको भ्रमण गरेका थिए । यो हालसम्मकै उच्च संख्या थियो । तर यस वर्ष भने उक्त संख्याभन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्यांकका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थ व्यवस्थामा ०.३ प्रतिशतको गिरावट आएको छ । तर जुलाईमा भने गत वर्षको तुलनामा ५.९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ । अहिले पर्यटकहरूको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरूको भनाइ छ ।

ॅअरब समाधान’ कार्यक्रम अघि बढाइने
रियाद (एजेन्सी)— इजिप्ट र साउदी अरबबीच अरेबियन मुलुकमा संकट समाधानका लागि अरब एकता र संयुक्त कार्यक्रमहरू अघि बढाउनुपर्नेबारे छलफल भएको छ । मंगलबार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरेबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो । बैठकमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्वलगायत क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो । छलफलले साउदी र इजिप्टबीचको सम्बन्ध विस्तार गर्ने र अन्य अरेबियन मुलुकको सम्बन्ध पनि विस्तार गर्दै जानेमा छलफल भएको बताइएको छ । दुई मन्त्रीहरूले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधान’ कार्यक्रममार्फत विभिन्न क्षेत्रीय समस्याहरूको सामना गर्न संयुक्त अरब कार्य र एकताको रूपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन् । भेटमा प्यालेस्टाइन—इजरायली द्वन्द्वको न्यायसंगत समाधानका बारेमा पनि छलफल भएको छ । बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए ।
आतंकवादी आक्रमणमा
निजेरमा १७ सैनिक मारिए
नियामी (रासस/एएफपी)– निजेरको पश्चिमी सीमा नजिकै सन्दिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना निजेर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।मंगलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर माली नजिकको कौउउगौ शहरमा आतंकवादीले सेनामाथि आक्रमण गर्दा १७ जनाले ज्यान गुमाएका तथा २० जना घाइते भएका जनाएको छ । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई राजधानी नियामी ल्याइएको छ । एक सयभन्दा बढी आक्रमणकारीलाई निष्क्रिय पारिएको दाबी गर्दै सेनाले अतिवादीलाई परास्त गर्न सैन्य बल प्रबिद्ध रहेको बताएको छ । जिहादी विद्रोहले अफ्रिकाको साहेल क्षेत्रलाई एक दशकभन्दा बढी समयदेखि आक्रान्त पारेको छ । सन् २०१२ मा उत्तरी मालीमा फैलिएको जिहादी आक्रमणले त्यसको तीन वर्षपछि छिमेकी निजेर र बुर्किना फासोलाई पनि गाँजेको छ । तीन देशबीचको सीमानामा नियमित रूपमा इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध विद्रोहीहरूले आक्रमण गर्दै आएका छन् । उक्त क्षेत्रमा अतिवादी आक्रमणमा परी हजारौं सेना, प्रहरी अधिकारी र सर्वसाधारणले ज्यान गुमाएका छन् भने लाखौं पलायन भएका छन् । निरन्तको रक्तपात र आक्रमणबाट आजित भएका ती देशका सेनाले सैन्य विद्रोह गर्दै आएका छन् । गत जुलाई २६ मा निजेरका निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई अपदस्थ गरिएको थियो । उनलाई हिरासतमा राखेर सेना प्रमुखले राज्यसत्ता आफूले सञ्चालन गरेको घोषणा गरेका छन् ।

 

Page 9
अर्थ वाणिज्य

अनौपचारिक क्षेत्रका ४४ लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याइँदै

- होम कार्की

(काठमाडौं)
सबैभन्दा जोखिममा रहेका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायराभित्र ल्याउन सुरु गरेको छ ।
नेपालको आन्तरिक श्रम बजारमा ४४ लाख श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन् । औपचारिक क्षेत्रलाई समेटिएको ५ वर्षपछि सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायराभित्र ल्याउने कार्यक्रमको सुरुवात गरेको हो । यसअघि औपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोषमा आबद्ध गर्ने व्यवस्था गरिसकेको छ । अब सामाजिक सुरक्षाभित्र आएका अनौपचारिक क्षेत्रका श्रमिकको कोखदेखि शोकसम्म आइपर्ने सबै प्रकारका समस्याहरूलाई सम्बोधन हुने भएको हो ।
पछिल्लो श्रम शक्ति सर्वेक्षणका अनुसार आन्तरिक श्रम बजारमा कार्यरत ७० लाख ८६ हजार श्रमिकमध्ये ४४ लाख ११ हजार (६२.२ प्रतिशत) अनौपचारिक क्षेत्रमा कार्यरत छन् । सबैभन्दा बढी कृषि क्षेत्रमा १४ लाख ३४ हजार, गैरकृषिमा २९ लाख ४ हजार र घरेलु श्रममा ७३ हजार कार्यरत छन् । पाँच जनामध्ये एक जना कृषि क्षेत्रमा रोजगारी गर्छन् । सबैभन्दा बढी रोजगार दिने क्षेत्र कृषि हो । त्यसपछि मात्रै व्यापार क्षेत्र १७.५ प्रतिशत, निर्माण क्षेत्र १३.८ प्रतिशत, सेवा र विक्रेताको पेसामा २३.८ प्रतिशत श्रमिकहरू आबद्ध छन् । उनीहरू हप्तामा ४४ घण्टादेखि ५५ घण्टासम्म काम गरेर सरदर १७ हजार ८ सय ९ रुपैयाँ कमाइ गर्ने श्रम सर्वेक्षणले देखाएको छ ।
अब भने यी श्रमिकले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत जम्मा गर्न बाटो खुलेको छ । यसमध्ये ११ प्रतिशत (१ हजार ९ सय १२ रुपैयाँ) श्रमिक र ९.३७ प्रतिशत (करिब ८ सय ८० रुपैयाँ) स्थानीय तहले जम्मा गर्नेछ । स्वरोजगारमा भने श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत (२ हजार ९ सय ९ रुपैयाँ) जम्मा गर्न सक्नेछन् । स्वरोजगारले न्यूनतम तलबको तीन गुणासम्म मासिक रूपमा कोषमा योगदान गर्न सकिनेछ ।
आफ्ना क्षेत्रका अनौपचारिक श्रमिकलाई सूचीकृत गरी कोषमा आबद्ध गर्न सिफारिस गर्ने दायित्व भने स्थानीय सरकारको हो । ७ सय ५३ स्थानीय सरकारमध्ये भीमफेदी गाउँपालिका, मकवानपुर र फेदीखोला गाउँपालिका, कास्कीले आफ्ना क्षेत्रका अनौपचारिक श्रमिकलाई आबद्ध गर्न कोषसँग सम्झौता गरिसकेका छन् । फेदीखोला गाउँपालिकाले आफूसँग पञ्जीकृत भएका ७ सय १४ जना श्रमिकलाई कोषमा आबद्ध गर्ने जनाएको छ । ‘हामीले तीन वर्षअघिदेखि नै मजदुर सञ्चित कोष सञ्चालनमा ल्याइसकेका छौं । यसमा श्रमिकले आफ्नो ज्यालाको १५ प्रतिशत र गाउँपालिकाबाट १५ प्रतिशत गरी ३० प्रतिशत
मजदुर सञ्चित खातामा जम्मा गरिरहेको थियौं । अब यसलाई सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ,’ कास्कीको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको श्रम बजारमा सामाजिक सुरक्षाको अभावले विश्व बजारमा श्रम गर्न बाध्य भएको बताए । ‘सामाजिक सुरक्षाको सुनिश्चित भएको विश्व बजारमा नेपाली श्रमिक आकर्षित हुँदा आन्तरिक श्रम बजारमा श्रमिकहरू अभाव हुन थालिसक्यो,’ उनले भने, ‘हामीले सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याएका छौं । अब प्रत्येक श्रमिकलाई कोषमा आबद्ध गरी भविष्यमा आइपर्ने सबै प्रकारका जोखिमलाई सम्बोधन भएको छ । यसलाई चरणबद्ध रूपमा कोषमा आबद्ध गर्दै जाने हो ।’
कोषमा नियमित रूपमा योगदान गर्ने योगदानकर्ता श्रमिकलाई १ लाखसम्मको औषधि उपचार, महिला योगदानकर्ताको हकमा न्यूनतम आधारभूत पारिश्रमिकको ९८ दिनसम्मको साठी प्रतिशतले हुन आउने रकम बराबरको प्रसूति सुविधा, शिशु स्याहारबापत प्रतिशिशु एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराइने व्यवस्था छ । दुर्घटनामा ७ लाखसम्मको उपचार खर्च, स्थायी असक्षमताको हकमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकमका साथै योगदानकर्ताको मृत्यु भएमा निजको आश्रित परिवारलाई पेन्सन सुविधा, अन्तिम संस्कार खर्चबापत २५ हजार रुपैयाँ र निजका सन्ततिको हकमा २१ वर्षसम्म शैक्षिक वृत्ति पाउने व्यवस्था छ ।
नेपालका ट्रेड युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसी) का अध्यक्ष विनोद श्रेष्ठले सरकारले सबै क्षेत्रका श्रमिकका लागि स्वैच्छिक नभई अनिवार्य बनाउनुपर्ने बताए । औपचारिक क्षेत्रमा १८ हजार रोजगारदाताले ७ लाख १६ लाख श्रमिकलाई कोषमा आबद्ध गराएको छ । ‘श्रम लचकतासहित सामाजिक सुरक्षा आएको हो । यो सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय सहमतिमा ल्याइएको हो । यसलाई रोजगारदाताले पालना नगर्नु भनेको आफ्नै निर्णयलाई उपहास गर्नु हो,’ उनले भने, ‘कोषमा सहभागी नगर्ने रोजगारदातालाई दण्ड गर्नुपर्छ ।’ उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ल्याउन बाधा पुर्‍याउने सबै कानुनहरूलाई खारेज गर्नुपर्ने बताए । ‘भुइँ मान्छेलाई सामाजिक सुरक्षाको सुनिश्चित गर्ने हो भने ठेक्का आह्वान गर्दा प्रतिष्ठानहरूसँग आफ्ना श्रमिकहरूलाई सामाजिक सुरक्षामा आबद्ध गरेको प्रमाणहरूको खोजी गरिनुपर्छ । प्रतिष्ठानको दर्ता–नवीकरण गर्दा पनि सामाजिक सुरक्षामा गएको हुनुपर्छ,’ उनले भने, ‘स्थानीय तहले पनि आफ्ना क्षेत्रमा रहेका श्रमिकहरूको पञ्जीकरण गर्नुपर्छ ।’

कोषका अध्यक्षसमेत रहेका श्रम सचिव केवलप्रसाद भण्डारीका अनुसार सामाजिक सुरक्षाको क्षेत्रमा राज्यको कोषबाट पर्ने भारलाई कम गराउँदै लैजान्छ । ‘यसले राज्यको भारलाई घटाउँछ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षालाई बढाउनुपर्छ,’ उनले भने । २०७५ मंसिर १० देखि औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई भने सामाजिक सुरक्षाको दायराभित्र ल्याइसकिएको छ । सरकारी क्षेत्रमा कार्यरत करार तथा ज्यालादारी श्रमिकलाई भने अझै यसमा आबद्ध गरिसकेको छैन । यो कार्यक्रमको सुरुवातको घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश दिएको बताए । ‘यो योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाखभन्दा बढी संख्याको हाराहारीमा रहेका सबै श्रमिक मजदुरलाई
सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी बनाइनेछ ।
सामाजिक सुरक्षा केवल सामान्य अवधारणा मात्रै होइन, यसले नागरिकले बिनाभेदभाव शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, सहुलियत र सम्मान प्राप्त गर्ने वातावरण निर्माण गर्ने बहुआयामिक पक्षलाई समेत समेटेको हुन्छ,’ उनले भने, ‘त्यसैले संविधानकै मर्मलाई व्यवहारमा रूपान्तरण गर्न सामाजिक सुरक्षा योजनालाई विशेष प्राथमिकताका साथ अभियानका रूपमा अघि बढाइएको हो ।
अनौपचारिक क्षेत्र खासगरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हातपाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले ‘ब्रेक थ्रु’ गर्ने मैले विश्वास लिएको छु ।’


कोषमा आबद्ध हुने चरणहरू
- श्रमिकले काम गरिरहेको क्षेत्रको वडा कार्यालयमा आवेदन दिने
- व्यक्तिगत विवरण र काम हेरेर सम्बन्धित वडाले पञ्जीकृत गर्नेछ
- पञ्जीकृतपछि वडा कार्यालयले सामाजिक सुरक्षा कोषमा सिफारिस गर्नेछ
- वडाको सिफारिस र श्रमिकको विवरणको चेकजााचपछि कोषमा सूचीकृत
- आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत जम्मा गर्न सुरु
- ११ प्रतिशत श्रमिक र ९.३७ प्रतिशत रकम स्थानीय तहले जम्मा गर्नुपर्ने

अर्थ वाणिज्य

एसडीजी समिटमा नेपालको प्रगति पेस हुँदै

- जगदीश्वर पाण्डे

(काठमाडौं)
असोजको पहिलो साता अमेरिकामा हुने दिगो विकासका लक्ष्यहरू (एसडीजी) सम्मेलनमा नेपालले पनि आफ्नो प्रगति पेस गर्ने
भएको छ । त्यसका लागि गृहकार्य थालेको जनाइएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को मुख्यालयमा असोजको १ र २ मा हुने उक्त सम्मेलनमा एसडीजीको मध्यकालीन समीक्षा गरिने र आगामी नयाँ खाका बनाउने विषयमा छलफल हुने एजेन्डा तय भएको छ । उक्त सम्मेलनको नेपालले एसडीजीको मध्यकालसम्म भएको प्रगतिको विवरण र आगामी लक्ष्यका बारेमा जानकारी दिने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगको आयोजना र नेपालस्थित यूएन कार्यालयको सह–आयोजनामा बुधबार ‘एसडीजी विकासको लागि काम र नतिजाको लागि तयारीमा तीव्रतासहित अघि बढाउने’ विषयमा कार्यशाला गोष्ठीमा उक्त जानकारी दिइएको हो । नेपालले एसडीजीलाई सन् २०३० सम्ममा प्राप्त गर्नका लागि आवश्यक गृहकार्य तथा सन् २०२६ पछि कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने विषय सँगसँगै लाने विषयमा छलफल भएको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले एसडीजी सम्मेलनमा नेपालको दृष्टिकोण कोसेढुंगा सावित हुने बताए । ‘हामीलाई नयाँ उपायहरूको साथ नयाँ विश्वव्यापी खाका चाहिन्छ । हामीले एसडीजीमा हराएको आधारलाई प्राप्त गर्न हाम्रो प्रयासलाई तीव्र पार्नुपर्छ,’ उनले भने । उनले सन् २०३० सम्म प्राप्त गर्नुपर्ने लक्ष्यहरू संसारभर एसडीजीले गम्भीर समस्या बेहोरिरहेको टिप्पणी गरे । ‘दशकौंको प्रयासपछि पनि आधारभूत लक्ष्यको रूपमा रहेको भोकमरी र गरिबी डरलाग्दो देखिएको छ,’ उनले भने, ‘सन् २०२० मा मात्र एलडीसीमा रहेका ३ करोड २० लाख मान्छेहरू चरम गरिबीमा धकलिएका छन् ।’ उपाध्यक्ष श्रेष्ठले नेपाल सरकारले लक्ष्य प्राप्तिका लागि काम गरिरहेको उल्लेख गर्दै ग्लोबल लक्ष्यको रूपमा रहेको एसडीजीलाई नेपालका नीति तथा कार्यक्रमहरूमा प्राथमिकताका साथ समेटेको बताए । ‘अहिलेको १५ औं राष्ट्रिय योजनामा पनि एसडीजीलाई समेटिएको छ भने यसै वर्ष ल्याउन लागिएको १६ औं वार्षिक योजनामा पनि समेटिनेछ,’ उनले भने ।
नेपाल सरकार एसडीजी समयमै प्राप्त गर्नका लागि विभिन्न उपायहरूबाट काम भइरहेको प्रस्ट पारे । एसडीजीलाई प्राप्त गर्न लागि निजी क्षेत्र, सहकारी, नागरिक समाज र विकास साझेदारहरूले महत्त्वपूर्ण भूमिका लेखेको बताए । यूएनले सन् २०१६ देखि एसडीजीलाई अघि सारेको हो । सन् २०२३ सम्म लक्ष्यमा विभिन्न १७ ओटा लक्ष्यहरू प्राप्त गर्ने उल्लेख गर्दै ‘कसैलाई पनि पछाडि नछाड्ने’ नाराका साथ एसडीजीलाई सार्वजनिक गरिएको थियो । नेपालले एसडीजीका लक्ष्यहरूमध्ये पानीमुनिको जीवनका सम्बन्धमा आफ्नो गृहकार्यमा राखेको छैन ।
नेपालस्थित यूएनकी आवासीय संयोजक हाना सिंगर हम्डीले एसडीजी प्रगति ग्राफमा रेखाहरू बारेमा नभई स्वस्थ आमा र शिशुहरूबारे पनि रहेको बताइन् । ‘बच्चाहरूले आफ्नो क्षमता पूरा गर्न सीपहरू सिकिरहेका छन् । यसले गर्दा आमाबाबुले आफ्नो परिवारलाई पाल्न सक्छन् । यो संसारमा सबैले मानव अधिकार र मानव मर्यादाको आनन्द लिन्छन्,’ उनले भनिन्, ‘विश्वव्यापी रूपमा र नेपालमा एसडीजी हासिल गर्ने अगाडिको बाटो अझै अलिकति ठाडो छ । तर यो हामीले गर्न सक्ने, गर्नैपर्छ र सँगै हासिल गर्ने पनि छौं ।’ उनले अहिले संसारमा ४ वर्षभन्दा अघि बढी गरिबी रहेको बताइन् । उनले ३० प्रतिशत मुलुकहरूले मात्र अहिलेको अवस्थामा सन् २०३० मा एसडीजीका लक्ष्यहरू प्राप्त गर्न सक्ने बताइन् । ‘संसारका ५० प्रतिशत मान्छेको भन्दा २६ धनी व्यक्तिहरूसँग बढी सम्पत्ति छ,’ उनले थपिन् ।

अर्थ वाणिज्य

टाइगर प्यालेसले नेपालमै कर बुझाउने

- कान्तिपुर संवाददाता

(काठमाडौं)
तिलोत्तमा नगरपालिका, भैरहवा, रूपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्टको किनबेच देशबाहिरै भएपनि त्यसको सम्पुर्ण कर बुझाउने लगानीकर्ताहरूले जनाएका छन् ।
बहुराष्ट्रिय अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज लिमिटेडको नाममा टाइगर प्यालेस रिसोर्टमा रहेको सबै सेयर स्वामित्व अमेरिकामा स्थापना भएको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरिसकेको छ । सेयर स्वामित्व बिक्री सम्बन्धमा जानकारी दिन टाइगर प्यालेस रिसोर्टले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकामा स्थापित हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले कर छली, अदालतका आदेश पुर्ण रुपमा कार्यान्वयन गर्ने जनाए ।
‘टाइगर प्यालेसमा रहेको अस्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयर स्वामित्व हामी गैरआवासीय नेपालीहरूले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरेको छ,’ सुवेदीले भने, ‘अब टाइगर प्यालेसमा सिल्भर हेरिटेज लिमिटेडको नाममा भएको अस्ट्रेलियन कम्पनीको सबै सेयर स्वामित्व पनि हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको छ ।’ अब नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र टाइगर प्यालेस रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आउने पनि उनले बताए । सुवेदीका अनुसार गत असार २९ मा उल्लिखित दुई कम्पनीबीच नेपालबाहिरै अनलाइनमार्फत सेयर स्वामित्व हस्तान्तरण भएको हो । यसरी अस्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब रुपैयाँ) मा कारोबार भएको बताइएको छ । तर, रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यावसायिक दायित्व र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा रिसोर्टलाई सञ्चालन गर्नका लागि ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको सुवेदीले बताए । ‘हामीले गरेको प्रारम्भिक अध्ययनबाट सेयर खरिद कारोबार रकमसमेतलाई जोड्दा करिब ४ अर्ब नेपाली रुपैयाँ खर्च गर्नुपर्ने जस्तो देखिएको छ,’ अध्यक्ष सुवेदीले भने, ‘नयाँ व्यवस्थापनमा हस्तान्तरण भएको दायित्वअन्तर्गत फन्डेड र ननफन्डेड गरी करिब दुईदेखि साढे २ अर्ब रुपैयाँ बैंक ऋण पनि छ ।’ यसअघि हिमालयन टाइगर
इन्भेस्टमेन्ट इंकका अध्यक्ष सुवेदीले विभिन्न नेपाली सञ्चारमाध्यममा दिएको प्रतिक्रियाअनुसार उक्त
होटल ५ अर्ब रुपैयाँमा किनबेच भएको बताएका थिए ।
आफूहरू विदेशमा बस्ने र गैरआवासीय नेपालीहरूले अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत टाइगर प्यालेसमा रहेको अस्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सिर्जना भएमा प्रचलित कानुनबमोजिम हुन आउने कर राजस्वको दायित्व भुक्तानी गर्न आफूहरू तयार रहेको पनि सुवेदीले बताए । ‘कानुनबमोजिम हुन आउने कर रकम कानुनले तोकेको म्यादभित्र तिर्ने बुझाउनेछौं,’ उनले भने, ‘यो जानकारी सम्बन्धित कर कार्यालयहरूमा पनि गराइसकेका छौं ।’ नयाँ व्यवस्थापनले सम्बन्धित कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयलगायत सरकारी निकायहरूमा सेयर स्वामित्व रूपान्तरणबारे जानकारी गराएको दाबी गरे पनि ती निकायहरूले त्यो पुष्टि गरेका छैनन् ।
कारोबार यथास्थानमा राख्नू भनी जिल्ला अदालत रूपन्देहीको आदेश, उच्च अदालत, तुलसीपुरमा अर्को मुद्दा विचाराधीन र मालपोत कार्यालयले जग्गा रोक्का राखेको अवस्थामा टाइगर प्यालेस रिसोर्ट विदेशमै किनबेच भएको थियो । देशबाहिर अफसोर कारोबार गर्ने, यहाँको कम्पनी रजिस्ट्रारको कार्यालयमा कुनै पनि विवरण परिवर्तन नगरी कर छली गर्ने गरी होटल खरिदबिक्री भएको देखिन्छ । कर छली गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान सुरु गरिसकेको छ । सरकारी निकायले अनुसन्धान गरिरहेका बेला खरिदबिक्री गर्न नमिल्ने अवस्थामा पनि हतारमा होटल बिक्री हुनुले आशंका जन्माएको जानकारहरू बताउँछन् । तर, नयाँ व्यवस्थापनले अदालत र सरकारी निकायले रिसोर्टको किनबेचमा रोक लगाएको भनाइ (आरोप) अस्वीकार गरेको छ । विदेशी कम्पनीको स्वामित्वमा रहेको सेयर किनबेच गर्न विदेशीमै सजिलो हुने भएकाले व्यावसायिक सहजताका लागि नेपालबाहिरै किनबेच भएको उनीहरूको दाबी छ ।

नयाँ व्यवस्थापनका अनुसार अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले करिब ५ अर्ब रुपैयाँ सेयर लगानी गरी टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्दै आएको थियो । उक्त रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।
रिसोर्ट पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नुपर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि आफूहरूले उक्त कम्पनी सञ्चालनमा ल्याउने सोचअनुसार रिसोर्ट खरिद गरिएको दाबी हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकका सञ्चालक दीपकदत्त गौतमको छ ।

अर्थ वाणिज्य

सडकको दुरवस्थाले पोखरा आउनै छोडे पर्यटक

- दीपक परियार

(पोखरा)
गत साता बन्दिपुरका लागि आएका भारतीय पर्यटक बाटोको अवस्था खराब देखेपछि मुग्लिनबाटै फर्किए । बुकिङ रद्द हुँदा तनहुँको बन्दिपुरमा होटल सञ्चालन गरिरहेकी संगीता प्रधान खिन्न बनिन् । पोखरातर्फबाट जाने पर्यटकको संख्यामा पनि कमी आएको उनले बताइन् । बन्दिपुर मात्रै नभई मुग्लिन हुँदै पोखरा, मुक्तिनाथ पुग्ने भारतीय पर्यटकको संख्यामा पनि गिरावट आएको स्थानीय व्यवसायी बताउँछन् । एसियाली विकास बैंकको ससर्त ऋण सहयोगमा भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डको स्तरोन्नतिले अपेक्षित गति नलिँदा पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
सवारी चाप बढेपछि मुग्लिनदेखि पोखरासम्मको ८० किलोमिटर सडक सहरी भेगमा ६ लेन र ग्रामीण भेगमा ४ लेनमा विस्तार गर्ने गरी दुई खण्डमा स्तरोन्नति भइरहेको छ । मुग्लिनदेखि तनहुँको जामुनेसम्मको पूर्वी खण्डमा चिनियाँ ठेकेदार कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ । २०७७ माघ १७ मा सम्झौता भएर ०७८ वैशाख २ देखि काम सुरु भएको यो ४१.४५ किलोमिटर खण्डको म्याद ०८१ वैशाखसम्म छ । यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण हुने छन् । साउनसम्म उक्त खण्डको भौतिक प्रगति ३१ प्रतिशत मात्र छ । यो खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख रहेको छ ।
पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम अझै सुस्त छ । जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति चीनकै अनहुइ कैयुएन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ । ०७८ जेठ २ मा सम्झौता भएर ०७८ भदौ १२ बाट काम सुरु भएको यो खण्डको काम ०८१ भदौ १२ मा सम्पन्न गरिसक्नुपर्छ । ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको यो खण्डको हालको भौतिक प्रगति भने ८ प्रतिशत मात्रै छ ।
पोखरा पर्यटन परिषद्ले सडक विस्तार कार्यलाई व्यवस्थित र तीव्र रूपमा अगाडि बढाउन आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई तारन्तार ध्यानाकर्षण गराएको छ । पहिला ६ घण्टा लाग्ने काठमाडौं–पोखराको यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण १२ घण्टासम्म लाग्ने गरेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । ‘यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ,’ उनी भन्छन् । भूकम्प, नाकाबन्दी र कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले अहिले पहुँचमार्गको अवरोध पनि खेप्नुपरेको उनले सुनाए । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ । विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन व्यवसायीले ठेकेदार कम्पनीसँग आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण गण्डकी प्रदेशको अर्थतन्त्र ५ वर्षपछि धकेलिने तर्क गर्छन् । उनले भने, ‘ढिलो हुनु भनेको नेपाललाई घाटा हुनु हो ।’ सडक स्तरोन्नति क्षेत्र तनहुँको आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र कास्कीको पोखरा महानगरपालिका पर्छ । बर्खा लागेसँगै ठेकेदार कम्पनीले कामदारसमेत घटाएका छन् । बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा पानी पर्दा हिलो र नपर्दा धूलो उड्ने भएकोले सर्वसाधारणले पटकपटक गुनासो गर्ने गरेको बताए ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले चिनियाँ कम्पनीले गर्ने ढिलासुस्ती र लापरबाहीप्रति चिन्तित रहेको बताए । ‘ठेकेदार कम्पनीलाई छिटो काम गर्न दबाब दिने अधिकार कन्सल्ट्यान्ट कम्पनीलाई छ,’ उनी भन्छन्, ‘तर कन्सल्ट्यान्ट कम्पनीले नै आफ्नो जागिर लम्ब्याउन काममा ढिलासुस्ती गराइदिन्छन् ।’ सडक विभागअन्तर्गत मुग्लिन–पोखरा (पूर्वी खण्ड) सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले असार–साउन वर्षायाम भएकाले स्रोतसाधन घटाएर ठेकेदार कम्पनीले काम गरेको बताए । ‘पुल, पर्खाल बनाउन समय लाग्ने तर प्रगति नदेखिने काम भएका छन्,’ उनले भने, ‘भदौबाट धमाधम कालोपत्र सुरु हुन्छ ।’
सडक विभागअन्तर्गत पश्चिम खण्ड सडक आयोजना प्रमुख अमितकुमार श्रेष्ठका अनुसार उक्त खण्डमा कटान गर्नुपर्ने रुख लगभग सबै काटिएको र मुआब्जा दिनुपर्ने ३ सय ४६ घरटहरामध्ये २ सय ८६ घर टहराको वितरण भएको छ । विद्युत् संरचना स्थानान्तरण अझै केही समय लाग्ने देखिएकाले समयमै आयोजना सम्पन्न हुनेमा उनले आशंका व्यक्त गरे । पश्चिम खण्डमा सडक स्तरोन्नति हुने क्षेत्रभित्र २७ भन्दा बढी खानेपानी संस्था/उपभोक्ता समितिका पाइप लाइन तथा संरचना छन् । विद्युत् पोल स्थानान्तरण र सिँचाइ नहर, कुलो, खानेपानी योजना व्यवस्थापनमा भएको ढिलाइले सडक स्तरोन्नति एक–डेढ वर्ष पछि धकेलिने निश्चित भएको आयोजना प्रमुख श्रेष्ठले बताए । कतिपय लगतकट्टा गरेर क्षतिपूर्ति दिनुपर्ने जग्गाधनी सम्पर्कमा नआउँदा पनि समस्या उत्पन्न भएको उनले सुनाए । ‘पोखरामा सेती नहरबाट आउने पानीको व्यवस्थापन गर्ने गरी अमरसिंहबाट विजयपुरसम्म नाला बनाउनुपर्ने भएपछि सडक विस्तारको डिजाइन नै परिवर्तन गर्नुपर्‍यो,’ उनले भने, ‘त्यसैले पनि पूर्वी खण्डभन्दा पश्चिम खण्डको काम ढिलो सुरु भयो ।’ पृथ्वीचोक र रंगशाला जोड्ने सेती नदीमा हाल दुई लेनको पुल छ । उक्त पुलको दायाँ–बायाँ थप २–२ लेनको पुल थपिने छ । ०८२ भदौ २१ मा सक्ने गरी १ अर्ब ७ करोड २४ लाख २७ हजार रुपैयाँमा रसुवा कन्स्ट्रक्सन कम्पनीले काम सुरु गरेको छ ।
पश्चिम खण्डको ठेकेदार कम्पनी अनहुइका कन्ट्र्याक्ट विभाग प्रमुख लिउ वुले नेपालले सडकको मध्यबिन्दु समयमै अनुमोदन नगर्नु, विद्युत् पोल, खानेपानी पाइपलाइन समयमै स्थानान्तरण नगर्नुले निर्माण कार्यमा ढिलाइ भएको बताए । ‘कहाँ, कुन खोलानालामा कति पानी बग्छ, बर्खामा सडकमा किनारका नहर, कुलोमा कति पानी बग्छ भन्ने हाइड्रोलोजिकल डेटा नेपाल सरकारले अझैं उपलब्ध गराएको छैन,’ उनले भने, ‘त्यसले गर्दा नाला कत्रो आकारको बनाउने भन्ने टुंगो नै लागेको छैन ।’ हाल बर्खा मौसम भएकोले कामदार घटाए पनि असोजदेखि कामदार र उपकरण दुवै बढाउने उनले बताए ।

Page 10
अर्थ वाणिज्य

गत वर्ष दर्जन मन्त्रालयको विकास खर्च ६० प्रतिशत पनि कटेन

- विमल खतिवडा

(काठमाडौं)
पुँजीगत खर्च अपेक्षाभन्दा धेरै कम हुने प्रवृत्ति गत आर्थिक वर्षमा पनि दोहोरिएको छ । गत आर्थिक वर्ष ०७९/८० मा एक दर्जन मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत कट्न सकेन, जसमा तीन वटा मन्त्रालयको खर्च २० प्रतिशत पनि कटेन ।
अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार विकासे मन्त्रालयहरूले सोचेअनुरुप खर्च गर्न सकेको देखिँदैन । निर्माणको काम भएर बिल बने पनि अर्थबाट भुक्तानी दिन ढिलाइ हुँदा पुँजीगत खर्च कम भएको विकासे मन्त्रालयहरूको दाबी छ । निर्माण व्यवसायीहरूका अनुसार विभिन्न मन्त्रालयबाट करिब १० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
सबैभन्दा कम खर्च गर्नेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेको अर्थले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यस मन्त्रालयका लागि गत आर्थिक वर्षमा पुँजीगततर्फ ३७ करोड २२ लाख रुपैयाँ विनियोजन भएकामा १३.३७ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् विनियोजित बजेटमा ४ करोड ९७ लाख रुपैयाँ मात्र खर्च भएको हो । त्यस्तै कम खर्च गर्नेमा अर्थ छ । बजेट बनाउने मन्त्रालयकै पुँजीगत खर्च २० प्रतिशत कट्न सकेको छैन ।
अर्थ मन्त्रालयका लागि गत आर्थिक वर्षमा पुँजीगततर्फ १० अर्ब ६२ करोड रुपैयाँ विनियोजन भएकामा १ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ । प्रतिशतमा हेर्दा विनियोजित बजेटमा १७.५३ मात्र खर्च भएको हो । परराष्ट्र पनि पुँजीगत खर्च २० प्रतिशत नकटाउनेमा पर्छ । यस मन्त्रालयका लागि गत आर्थिक वर्षमा पुँजीगततर्फ ५९ करोड विनियोजन भएकामा १८.५० प्रतिशत मात्र खर्च भएको छ । युवा तथा खेलकुद र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुँजीगत खर्च ३० प्रतिशत कटाउन सकेका छैनन् । युवा तथा खेलकुदले पुँजीगत बजेटमा २७.२० र उद्योग वाणिज्य तथा आपूर्तिले २७.७१ प्रतिशत मात्र खर्चिएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विनियोजित बजेटमा ५० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणले ४१.४०, श्रम, रोजगार तथा सामाजिक सुरक्षाले ४४.७१ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४८.४७ प्रतिशत मात्र खर्चिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिले ९ अर्ब ७२ करोडमा ५ अर्ब ९ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनले ३ अर्ब ८१ करोडमा २ अर्ब ५ करोड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ८६ करोड ९५ लाखमा ४९ करोड १३ लाख रुपैयाँ खर्चिएका छन् ।
पुँजीगत खर्च कम हुनुमा बजेटमा प्रणालीगत समस्या रहेको अर्थविद् डिल्लीराज खनालले बताए । बजेट विनियोजन र आयोजना छनोट मनपरी ढंगले हुनु पनि खर्च कम हुनुको मुख्य समस्या रहेको उनको भनाइ छ । ‘स्रोत सुनिश्चितता नभएका आयोजनालाई बजेटमा राख्ने, रकमान्तर गरेर वर्षको अन्त्यमा मनपरी खर्च गर्ने, कसैले बदमासी गरे पनि कारबाही नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘यो समस्या जबसम्म रहन्छ, तबसम्म बजेटमा प्रणालीगत रूपमा सुधार हुँदैन ।’ बर्खान्तमा आएर सबैभन्दा बढी खर्च हुने प्रवृत्ति पनि राम्रो नभएको अर्थविद्हरू बताउँछन् ।
सञ्चार तथा सूचना प्रविधिका लागि विनियोजित ३ अर्ब १९ करोड ६३ लाखमा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ खर्चिएको छ । विकास निर्माणको जिम्मेवारी पाएको सहरी विकास मन्त्रालयको खर्च पनि ६० प्रतिशत कट्न सकेको छैन । यस मन्त्रालयका लागि गत आर्थिक वर्षमा ५६ अर्ब ३२ करोड ३५ लाखमा ५७.९५ प्रतिशत मात्र खर्च भएको छ । मन्त्रालयले कुल विनियोजित पुँजीगत बजेटमा ३२ अर्ब ६४ करोड रुपैयाँ खर्चिएको हो । स्रोत सहमति आउन ढिला हुँदा केही आयोजनामा खर्च कम देखिएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जनाए ।
फागुनसम्म सहरी विकासको पुँजीगत बजेट ३५ अर्ब ४५ करोड थियो । स्थानीय पूर्वाधार विभाग (डोली) नै गाभिएपछि पुँजीगत बजेट धेरै देखिएको वाग्लेले बताए । ‘डोली पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत थियो, माघबाट सहरीमै राखिएको हो,’ उनले भने, ‘जुन विभागको बजेट पनि जोडिएर धेरै भएको हो ।’ धेरै आयोजनामा ६० प्रतिशतभन्दा बढी खर्च नभएको उनको भनाइ छ ।
‘अर्थ मन्त्रालयबाट पूर्ण सहमति लिएर काम गर्दा ढिलाइ भएकाले आयोजनाहरूको प्रगति र खर्च कम देखिएको हो ,’ वाग्लेले भने । प्रदेश र स्थानीय तहमा गएका केही योजना पुनः संघमा फर्काउँदा पछि ती कार्यक्रमलाई पूर्वतयारी गरेर ठेक्का गर्दा ढिलाइ भएको उनले सुनाए । भौतिक पूर्वाधार तथा यातायात र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पुँजीगत खर्च ७० प्रतिशत कटाउन सकेका छैनन् । सबैभन्दा बढी बजेट पाउने भौतिकले गत आवमा पुँजीगततर्फ ६५.०२ प्रतिशत मात्र खर्चिएको छ । अर्थात् यस मन्त्रालयले पुँजीगततर्फ १ खर्ब ५८ अर्ब ४५ करोड बजेटमा १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको हो ।
निर्माण व्यवसायीलाई काम गरेको रकम समयमै भुक्तानी दिन नसक्दा पुँजीगत खर्च कम देखिएको भौतिक मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारीले बताए । ‘केही समय क्रसर उद्योग बन्द भएर निर्माणको काम पनि प्रभावित बन्यो, रकमान्तरका लागि अर्थ पठाए पनि स्वीकृत भएर आउन समय लाग्यो,’ उनले भने, ‘जसले गर्दा पुँजीगत खर्च कम भएको हो ।’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विनियोजित बजेटमा ६९.२८ प्रतिशत खर्चिएको हो ।
गृह, वन तथा वातावरण, खानेपानी, स्वास्थ्य तथा जनसंख्या र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च ८० प्रतिशत कटेको छैन । ९० प्रतिशत बढी पुँजीगत खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन र रक्षा मन्त्रालय छन् । संघीयले ७३ करोड ३८ लाखमा ६९ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । यस मन्त्रालयले कुल बजेटमा ९४.७३ प्रतिशत खर्चिएको हो । रक्षाले गत आर्थिक वर्षमा पुँजीगततर्फ ८ अर्ब २१ करोड बजेट पाएकामा ९५.६५ प्रतिशत खर्च गरेको छ ।
बजेट बढी छरिने र छरिएको ठाउँमा खर्च नहुने समस्या रहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनीराम शर्माले बताए । ‘मन्त्रालयहरूले ढिलो रकमान्तर माग्ने गरेकाले पनि खर्च कम हुने गरेको छ, गत आर्थिक वर्षको मध्यावधि समीक्षाका बेला पुस–माघमा स्रोतको अवस्था हेरेर केही बजेट थप निकासा दिन रोकेका थियौं,’ उनले भने, ‘गत आर्थिक वर्षमै निर्माणजन्य सामग्री अभावका कारण पनि निर्माणका काममा केही ढिलाइ भयो, जसले गर्दा पनि कम खर्च भएको हुन सक्छ ।’
तोकिएको बजेटका सीमाभित्र रहेर आवश्यकताअनुसार मन्त्रालयहरूको पुँजीगत खर्च थपघट हुने भएकाले सुरुको विनियोजन बजेटको तुलनामा आर्थिक वर्षको अन्त्यमा केही मन्त्रालयको पुँजीगत बजेट कमबेंसी देखिने गरेको शर्माको भनाइ छ ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


विनोद चौधरीलाई एसियन अवार्ड
काठमाडौं (कास)– चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्ड ‘फिलान्थ्रोपिस्ट अफ द इयर’ बाट सम्मान गरिने भएको छ । दुबईस्थित म्युजियम अफ द फ्युचर भवनमा अक्टोबर ७ मा आयोजना हुने समारोहमा चौधरीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उक्त अवार्ड व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा योगदान पुर्‍याउनेलाई प्रदान गरिँदै आएको छ । यसअघि मदर टेरेसा, अभिनेता सर बेन किंङस्ले, ब्रुसली, ज्याकी च्यान, गायक फ्रेडी मर्करी, उद्यमी ज्याक मा, क्रिकेटर सचिन तेन्डुल्कर, आर्ट अफ लिभिङका संस्थापक रविशंकरलगायत सम्मानित भइसकेका छन् । फोर्ब्समा सूचीकृत नेपालका एकमात्र अर्बपति उद्योगी चौधरीले आफ्नो फाउन्डेसनमार्फत नेपालमा सामाजिक कार्यसमेत गर्दै आएका छन् । भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरूलाई उनले करिब तीन हजार घर बनाइदिएका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले कोभिड प्रभावितको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माणमा समेत सहयोग गरेको थियो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशीलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तीकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।

युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक
काठमाडौं (कास)– नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, वाग्मती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट साझेदारका रूपमा सहकार्य गर्ने भएको छ । सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालबीच सहकार्यबारे बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । डिजिटल नेपाल निर्माणमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरूलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निर्माणका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका अग्रवालको भनाइ छ । नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका गैरेले चाहिँ युवाहरूलाई प्रोत्साहन गर्न, स्टार्टअप उद्यमलाई सहजीकरण गर्न, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउनेलगायत पहलमा सम्मेलन उपलब्धिमूलक हुने धारणा राखेका छन् । उनका अनुसार ७० जिल्लाका ५०० युवा उद्यमीहरूले सम्मेलनमा भाग लिनेछन् ।

 

Page 11
समाचार

दुई महिनापछि संस्कृत विश्वविद्यालयका ताला खुले

- दुर्गालाल केसी

(दाङ)
बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न निकायमा लगाइएका ताला दुई महिनापछि बुधबार खुलेका छन् । सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा लगाएको ताला बुधबार खुलेका हुन् ।
नेपाल विद्यार्थी संघले असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो । केन्द्रीय कार्यालयमा लागेको ताला झन्डै दुई महिनापछि शुक्रबार खुलेको थियो । केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ देखि केन्द्रीय कार्यालयमा ताला लगाएको थियो ।
ताला खुलेपछि विश्वविद्यालयका सबै काम सुचारु भएका छन् । विश्वविद्यालयले तालाबन्दीबारे निकास निकाल्न सहप्रशासक सुरजकुमार लामाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । समितिका सदस्यमा सुधीरकुमार पोख्रेल, विष्णु दाहाल, कमल पोख्रेल तथा सदस्यसचिव विनयकुमार पोख्रेल थिए । यसअघि समितिले वार्ताका लागि नेविसंघलाई पत्राचार गरे पनि उनीहरूले पदाधिकारीसँग मात्र वार्ता गर्ने भन्दै छलफलमा आउन अस्वीकार गरेका थिए । समिति र विद्यार्थी संगठनबीच बुधबार भएको वार्तामा सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थानसँग सम्बन्धित मागहरू पूरा गर्ने सहमति भएपछि ताला खुलेको वार्ता समिति सदस्य उपप्राध्यापक सुधीरकुमार पोख्रेलले बताए । वार्तामा सेवा आयोगका सबै परीक्षा लोक सेवा आयोगलाई सञ्चालन गर्न दिने र यसअघिका परीक्षामा अनियमितता भएको भनिएको विषयमा छानविन गर्ने जिम्मेवारी विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेलाई दिने निर्णय भएको जनाइएको छ ।
यसैगरी आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृत्ति २०७९ साउनदेखि लागू हुने गरी ५० प्रतिशत वृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको पोख्रेलले बताए । सेवा आयोगको कार्यालयमा तालाबन्दी भएपछि असार २१ गतेदेखि हुने उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकको परीक्षाका साथै असार २७ देखि हुने सहप्राध्यापकका परीक्षा स्थगित भएका थिए ।
गत वर्ष पनि यिनै विषयमा केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी भएकोमा उच्च अदालत तुलसीपुरको आदेशपछि खुलेका थिए । आदेशपछि नेपाल विद्यार्थी संघले वैशाख १९ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित उपकुलपति, कुलसचिव कार्यालयलगायत आर्थिक महाशाखामा लगाएको ताला साउन २५ मा खुलेको थियो । साउन १८ गतेदेखि अनेरास्ववियुले सेवा आयोगको कार्यालयमा लगाएको ताला साउन २५ मा खुलेको थियो । दुवै संगठनले प्रेस विज्ञप्ति जारी गरी अदालतको सम्मान गर्दै ताला खोलेको बताएका थिए । उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश बबिता उप्रेतीको संयुक्त इजलासले ताला खोल्न र विश्वविद्यालयको दैनिक कार्य सञ्चालन र पठनपाठन अवरुद्ध हुने कार्य नगर्न नगराउन आदेश दिएको थियो ।

Page 12
खेलकुद

अस्ट्रेलियाको सपना चकनाचुर, इंग्ल्यान्ड फाइनलमा

- कान्तिपुर संवाददाता

 

सिड्नी (एएफपी)– लाउरेन हेम्प र एलेसिया रुसोले खेलको अन्त्यतिर गोल गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाली सपना ३–१ ले कुल्चिँदै बुधबार महिला विश्वकप फुटबलको फाइनल यात्रा तय गरेको छ । उपाधिको भिडन्तमा इंग्ल्यान्डको भेट स्पेनसँग हुनेछ ।
युरोपेली च्याम्पियन इंग्ल्यान्ड यसअघि विश्वकपको सेमिफाइनलमै दुईपल्ट रोकिएकोमा यसपालि टोलीले त्यस्तै भूल दोहोर्‍याएन । इंग्लिस टिम ७५ हजार
दर्शकमध्ये अधिकांसलाई शान्त पार्दै पहिलोपल्ट विश्वकपको फाइनल पुग्यो ।
इंग्ल्यान्डले पहिलो हाफ सकिनु नौ मिनेट अगाडि म्यानचेस्टर युनाइटेडबाट खेल्ने इला टुनको गोलबाट अग्रता लिएको थियो । उनले बक्सको ठीक बाहिरबाट बललाई पोस्टको दिशा दिन शक्तिशाली प्रहार गरिन् । चोटमुक्त भएर प्रतियोगितामै पहिलो पटक सुरुदेखि खेलेकी साम केरले खेलले एक घण्टा छोएयता बराबरी गोल फर्काइन् । यो विश्वस्तरीय गोल रह्यो । उनले गति लिँदै ३० यार्डको दूरीबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।
यो गोलपछि घरेलु समर्थकमाझ बेग्लै उत्साह छाएको थियो । तर, त्यसको ठीक आठ मिनेटपछि उनीहरू फेरि शान्त रहन बाध्य रहे । हेम्पले बक्सतर्फ बल अगाडि बढाउँदै कुना च्यापेर दोस्रो गोल थपिन् । लगत्तै रुसोले खेल सकिन चार मिनेटअगाडि अस्ट्रेलियाको घाउ अझ चर्काउँदै तेस्रो गोल गरेकी थिइन् । ‘हामी यसपल्ट फाइनल पुगेका छौं र यो अश्विसनीय उपलब्धि हो । एकपल्ट त हामीले विश्वकप नै जिते जस्तो लागेको थियो तर होइन, हामीले केही पनि जितेका छैनौं । त्यसबाट एक खेल पर भने पुग्यौं,’ इंग्लिस प्रशिक्षक सरिना वेगमनले भनिन् ।
उनले थपिन्, ‘यो खेलमा हामीले निकै कडा परिश्रम गरेर खेल्यौं । तर जित निकाल्न सक्यौं । हामीले धेरैपल्ट निर्दयी खेल प्रदर्शनको कुरा गर्छौं । यस खेलमा हाम्रो प्रदर्शन आक्रामक र रक्षात्मक दुवैमा निर्दयी किसिमको रह्यो ।’ इंग्ल्यान्डले अब आइतबार स्टेडियम अस्ट्रेलियामै हुने फाइनलमा डरलाग्दो देखिएको स्पेनी टिमको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा स्विडेनलाई २–१ ले पराजित गरेको थियो । फाइनलपछि महिला विश्वकप फुटबलले नयाँ च्याम्पियन पाउने छ ।  
‘यसपल्ट प्रत्येक खेल माथिल्लो स्तरको भएको छ । त्यसैले हामी सबै खाले चुनौतीका लागि तयार हुनुपर्छ,’ गोलकर्ता रुसोले भनिन्, ‘हामीले सानै छँदादेखि विश्वकप जित्ने सपना देख्दै आएका थियौं । त्यसैले हामी सबै खुसी छौं । केही समयको आरामपछि हामी फाइनलका लागि तयार हुनुपर्छ ।’ इंग्ल्यान्ड यसअघि सन् २०१५ र २०१९ को विश्वकपमा पनि सेमिफाइनल पुगेको थियो । दुवै अवसरमा पराजित रहेको थियो । इंग्ल्यान्डको सबैभन्दा उच्च प्रदर्शन नै तेस्रो स्थानको छ । वेगमनकै नेतृत्वमा इंग्ल्यान्डले गत वर्ष घरमै युरोपेली च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसै पृष्ठभूमिमा टिकेर कप्तान मिली ब्राइटनले आफ्नो टिम ठूलो र दबाबपूर्ण खेलको सामना गर्न मानसिक रूपमा बढी सक्षम भएको दाबी गरेकी थिइन् । यही कारणले इंग्ल्यान्डले उत्साहित र राष्ट्रिय भावनाले प्रेरित स्टेडियम अस्ट्रेलियालाई चुपचाप राख्न सफल रह्यो । महिला विश्वकपमा अहिलेसम्मकै उच्च प्रदर्शन गरेको अस्ट्रेलियाले अब शनिबार तेस्रो स्थानका लागि स्विडेनसँग खेल्नेछ ।
‘मैले धेरैको दुःख बुझेको छु । हाम्रा खेलाडी स्तब्ध देखिए,’ अस्ट्रेलियाली प्रशिक्षक टोमी गुस्ताभसनले भने, ‘तर इंग्ल्यान्डको प्रदर्शन निर्णायक थियो, त्यसैले खेल उनीहरूकै रह्यो । पहिलो हाफमा हाम्रो रक्षापंक्ति ठोस रह्यो । तर, हामीले उत्तिकै बहादुर रहेर आक्रमण गर्न सकेनौं । दोस्रो हाफमा हाम्रो खेल त्यस्तै रह्यो, जस्तो हामी सक्छौं ।’ दोस्रो हाफमा इंग्ल्यान्डको प्रदर्शन पहिलेको तुलनामा उच्च रह्यो । मध्यपंक्तिमा बलियो पकडपछि इंग्ल्यान्डले खेलमाथि नियन्त्रण राखेको थियो । 

खेलकुद

मेसीको गोलले मियामी फाइनलमा

- कान्तिपुर संवाददाता


चेस्टर (एएफपी)– लियोनल मेसीले गोल गर्ने क्षमता कायम राख्दै इन्टर मियामीलाई लिग कपको फाइनलमा पुर्‍याएका छन् । उनको आकर्षक गोलसँगै फिलाडेल्फिया युनियनलाई ४–१ ले हराएर मंगलबार इन्टर मायमी फाइनलमा पुगेको हो ।
अर्जेन्टिनी सुपरस्टार मेसीले फिलाडेल्फियाको सुबरु पार्कमा रोमाञ्चक गोल गर्दै इन्टर मियामीका लागि ६ खेलमा ९ गोल पुर्‍याएका हुन् । इन्टर मियामीका लागि भेनेजुएलाका खेलाडी जोसेफ मार्टिनेज, बार्सिलोनामा मेसीका पूर्वसहकर्मी जोर्डी अल्बा र सब्स्टिच्युट डेविड रुइजले पनि गोल गरे । सेमिफाइनलमा फिलाडेल्फियाबाट अलेजान्द्रो बेदोयाले गरेको गोल सान्त्वना बन्यो ।
यस नतिजासँगै मेसी करिअरको ४२ औं उपाधि नजिक पुगेका छन् । मेक्सिको र मेजर लिग सकरका टिमले प्रतिस्पर्धा गर्ने विश्वकप शैलीको प्रतियोगिता लिग कपको शनिबार हुने फाइनलमा इन्टर मियामीले नेसभिल एससीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेसभिलले मंगलबार नै भएको अर्को सेमिफाइनलमा मेक्सिकन टिम मोन्टेरेरीको चुनौती २–० ले पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । लिग कपको फाइनल पनि उसैको मैदानमा हुँदै छ ।
सेमिफाइनलको जितसँगै इन्टर मियामी अर्को सिजनको क्षेत्रीय प्रतियोगिता कन्काकाफ च्याम्पियन्स कपमा पनि छनोट भएको छ । यो प्रतियोगितामार्फत टोलीले फिफाको विस्तारित प्रतियोगिता क्लब विश्वकप २०२५ मा स्थान बनाउन सक्छ ।
‘हाम्रो लक्ष्य अर्को सिजनको अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने हो, जुन आज (मंगलबार) राति हामीले पूरा गरेका छौं,’ इन्टर मायमीका मुख्य प्रशिक्षक गेरार्डो टाटा मार्टिनोले भने, ‘यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा कन्काकाफ च्याम्पियन्स कपमा छनोट भएको उपलब्धि हो ।
अब हामीले यस प्रतियागिता जित्ने तयारी गर्नुपर्छ, जसले हामीलाई धेरै उत्साह प्रदान गर्नेछ र आत्मविश्वासी बनाउने छ ।’