You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

स्पेन विश्व विजेता

एएफपी (सिड्नी)
स्पेन पहिलोपल्ट महिला विश्वकप विजेता बनेको छ । आइतबार भएको फाइनलमा आफ्नो प्रभुत्व जमाउँदै स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो । कप्तान ओल्गा कारमोनाले खेलको एकमात्र निर्णायक गोल २९ औं मिनेटमा गरेकी थिइन् । दोस्रो हाफको ७० औं मिनेटमा पेनाल्टीबाट गोल दोब्बर बनाउने मौकाबाट भने स्पेन चुकेको थियो । जेहोस्, स्पेनलाई महिला फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने पाँचौं टिम हुनबाट इंग्ल्यान्डले रोक्न भने सकेन ।
७६ हजार दर्शकले भरिएको स्टेडियम अस्ट्रेलियामा स्पेनले सुदृढ खेल प्रदर्शनमात्र गरेन, गोलका लागि बढी मौका पनि सिर्जना गरेको थियो । विश्वकपको ऐतिहासिक सफलता स्पेनका लागि जति महत्त्वपूर्ण थियो, त्यति नै टिम प्रशिक्षक जोर्गे भिल्डा र स्वयं स्पेनी फुटबल संघका लागि पनि । गत वर्ष १५ खेलाडीले प्रशिक्षक भिल्डाको नेतृत्वमा आफूहरू खेल्न अनिच्छुक रहेको बताउँदै विद्रोह गरेका थिए । तर स्पेनी फुटबल संघको भिल्डालाई नै प्रशिक्षकमा कायम राख्दै विश्वकपमा उत्रने निर्णयलाई आइतबारको विश्वकप जितले सही ठहर्‍यायो । खेल हेर्न स्टेडियम पुगेकी स्पेनी महारानी लेटजिआको अगाडि डिफेन्डर कारमोनाले लेफ्ट ब्याकले कोणलाई साँघुरो पार्दै गरेको प्रहारलाई गोलमा परिणत गराएकी थिइन् ।
इंग्ल्यान्डलाई पहिलो पटक फाइनल पुर्‍याए पनि इंग्लिस प्रशिक्षक सरिना वेगमनका लागि भने विश्वकप फाइनल लगातार दोस्रो हार बन्यो ।

हारपछि इंग्लिस कप्तान मिली ब्राइघट भावुक रहिन् र मानिन्, पहिलोपल्ट विश्वकप जित्ने सपना साकार पार्न
आफ्ना टिमले राम्रो प्रदर्शन गर्न सकेन ।
उनले भनिन्, ‘हाम्रो लागि टिम यहाँसम्म पुग्नु पनि गर्विलो प्रदर्शनको उपलब्धि हो । धेरै खेलाडीले यत्तिको अवसर पनि आफ्नो पूरा खेल जीवनमा पाउँदैनन् । हामी यहीं रोकिने छैनौं, हामी पक्कै पनि अगाडि बढ्नेछौं । तर अहिले तत्कालका लागि हामीलाई यो हार स्विकार्न
कठिन भइरहेको छ ।’ प्रशिक्षक वेगमनले प्रतिबन्धको फुकुवापछि फर्केकी चेल्सी खेलाडी लउरेन जेम्सलाई सुरुदेखि खेलाउन चाहिनन् र त्यसको स्थानमा त्यही ११ खेलाडीलाई उतारेकी थिइन्, जसले सेमिफाइलनमा अस्ट्रेलियालाई ३–१ ले हराएको थियो ।
खेलको पहिलो आक्रमण इंग्ल्यान्डले नै बुनेको थियो, तर लउरेन हेम्पको प्रहारले स्पेनी गोलरक्षक काटा कोललाई दुःख दिन सकेन । सुरुमा दुवै टिमबीच खासै भिन्नता थिएन र पहिलो आधा घण्टा सकिँदासम्म दुवै टिमले समान राम्रा अवसर पनि बनाएका थिए । म्यानचेस्टर सिटीकी फरवार्ड हेम्पको प्रहार पोस्टमा ठोकिएको थियो । त्यसको अर्को छेउ स्पेनका लागि सल्मा पारलेलो सिक्स यार्ड बक्सबाट गोल गर्न चुकिन् । लगत्तै अल्बा रेडोन्डो पनि इंग्लिस गोलरक्षक मेरी इर्पसको चुनौती काट्न सकिनन् ।
समूह चरणमा जापानसँग नमीठो ४–० को हार बेहोरेको स्पेनले महिला विश्वकपको इतिहासमै यस अगाडि कुनै नकआउट खेल जितेको थिएन । तर यसपल्ट फाइनल प्रवेश गरेयता खेलले आधा घण्टा छुँदा कारमोनाको निर्णायक गोलका लागि मारिना क्लाडेन्टीले नापेर सटीक पास उपलब्ध गराएकी थिइन् । यो गोलको बेला ती तीन खेलाडीको अनुहारमा हाँसो देखिएको थिएन, जसले विद्रोह गरेका थिए । यी तीनलाई प्रशिक्षक भिल्डाले फेरि टिममा बोलाएका थिए ।
चार वर्ष अगाडिको फाइनलमा पनि वेगमनको नेदरल्यान्ड्स अमेरिकाको हातबाट २–० ले पराजित भएको थियो । स्पेनसामु यसपल्ट पनि समान जित–हारको स्कोर निकाल्ने अवसर थियो, जति बेला खेल सकिन २० मिनेट अगाडि उसलाई पेनाल्टीको अवसर मिल्यो । ‘भीएआर’ को मद्दतले केइरा वाल्सले आफ्नो बक्समा बल ह्यान्ड गरेको निर्णयपछि पेनाल्टी दिइएको थियो । त्यसमा जेनिफर हेरमोसाको प्रहार कमजोर रह्यो र गोलरक्षक इर्पसले सजिलो बचाउ गरिन् । अन्त्यमा १३ मिनेटको इन्ज्युरी थपिए पनि त्यसमा इंग्ल्यान्डले निर्णायक आक्रमण बुन्न सकेन । 

मुख्य पृष्ठ

गृहमन्त्री हटाउन देउवाको दबाब

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
‘माधव नेपालजीले पार्टी फुटाउने आँट नगरेको भए न म प्रधानमन्त्री हुन्थें, न त प्रचण्डजी बन्नुहुन्थ्यो,’ साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले कड्किँदै भनेका थिए । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘हो’ भनेर समर्थन जनाउनुबाहेक थप व्याख्या नगरी बैठकको छलफल अघि बढाए ।
बैठकमा सहभागी एक नेताका अनुसार देउवा त्यसरी कड्किनुको कारण ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले साउन २१ गते गरेको आदेशबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कसरी जोगाउने भन्नेमा लक्षित थियो ।
सर्वोच्चले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषद्बाट भएका निर्णयका ‘निर्णयाधिकारी’ लाई अनुसन्धान दायरामा ल्याउन आदेश गरेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल र भट्टराईलाई बोलाएर बयान लिने तयारी थियो । त्यसैबाट जोगाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई राखेर गरिएको छलफलमा देउवा कड्किएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने भनेर देखाइएको सक्रियता, ललिता निवास जग्गा हिनामिना प्रकरणबारे भइरहेको अनुसन्धान, गौर हत्याकाण्डका पीडितसँग भएको पाँचबुँदे सम्झौतादेखि सुन तस्करी घटनासम्म आइपुग्दा आफ्नै समर्थनमा बनेको सरकारका गृहमन्त्रीप्रति देउवा बढी सशंकित छन् ।
देउवाले धेरै पटक ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले आफूलाई समेत ‘क्रस’
गरेर गृहमन्त्री चलेको जवाफ दिने
गरेको एक नेताले बताए । ‘एकपछि अर्को गर्दै गठबन्धनका नेताहरूको टाउकामा तरबार झुन्ड्याएर अविश्वास खडा गर्ने काम गृहमन्त्रीले गरिरहेकामा सभापतिज्यू धेरै चिन्तित हुनुहुन्छ,’ एक कांग्रेस नेताले भने, ‘सुन प्रकरणमा संलग्नको पुष्टि हुँदासमेत माओवादी नेता महराले छुट पाउने र अरू पार्टीका नेता पक्राउ परिहाल्ने स्थिति गृहमन्त्रीका कारण भएको र भुटानी शरणार्थी प्रकरणमै थप अनुसन्धान अगाडि बढाएर आरजु देउवालाई नै तान्ने हुन् कि भन्ने सन्देहसमेत सभापतिज्यूलाई छ ।’
पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण
छोट्याएर फर्किएकै दिन २९ साउनमा प्रधानमन्त्रीले राखेको सत्ता गठबन्धन बैठकमा देउवाले चर्को असन्तुष्टि पोखेपछि नै प्रधानमन्त्रीले गृहमन्त्रीका कदममा लगाम लगाउन खोजेको बुझाइ कतिपय नेतामा छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणका ‘निर्णयाधिकारी’ नेपाल र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बयान नै नलिएर सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको र भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई अन्यत्र सरुवा त्यसैको उपज भएको ती नेताको भनाइ छ ।
सुन तस्करीका घटनालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले गरिरहेको संसद्को अवरोधतिर भन्दा देउवाको मुख्य सरोकार गृहमन्त्री श्रेष्ठको भूमिका निस्तेज बनाउने वा विकल्प खोज्नेतिर केन्द्रित देखिएको माओवादी नेताहरू बताउँछन् । सुन तस्करीका घटना छानबिनका लागि न्यायिक आयोग गठनको माग राखेर एमालेले गरिरहेको संसद्को अवरोध खुलाउने विषयमा ठूला दलको हैसियतमा रहे पनि देउवाले सक्रियता देखाएका छैनन् । प्रधानमन्त्रीले आइतबार बोलाएको सर्वदलीय बैठकमा देउवा साउन २९ को बैठकमा भन्दा बढी जंगिँदै गृहमन्त्रीमाथि खनिएका थिए ।
बयानकै आधारमा आफ्नो पार्टीका नेता बालकृष्ण खाणलाई पक्राउ गर्ने तर ‘भेप’ भित्र सुन लुकाएर ल्याउने तस्करसँगको साँठगाँठ संलग्न हुँदासमेत माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा पक्राउ नपर्ने भन्दै देउवा आइतबारको सर्वदलीय बैठकमा जंगिए ।
एक नेताका अनुसार गृहमन्त्रीप्रति आक्रोशित देउवाले भने, ‘कसैको बयानका आधारमा बालकृष्ण खाणलाई ल्याएर थुन्ने, छानबिन गर्ने ? तर यतिको छापामा आउँदा, सीआईबीको रिपोर्ट, सबैतिर हुँदा पनि महरालाई ल्याएर छानबिन किन नगर्ने ? मैले पार्टीमा जवाफ दिनु पर्दैन ?’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई ‘यातना’ दिएर बयान लिएको उल्लेख गर्दै देउवाले ‘यसो गर्न पाइन्छ ?’ भनेर कड्किएका थिए ।
विमानस्थलबाट बाहिरिएको तस्करीको ६० केजी सुन प्रधानमन्त्री मातहतको राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको तर त्यत्रो सुन बाहिरिँदा प्रहरीको जानकारीमै नहुनुमा गृहमन्त्रीले नैतिक जिम्मेवार लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न पनि देउवाले राखेका थिए ।
देउवाका सरोकार र सवालमा प्रधानमन्त्री मौन बसेका थिए, गृहमन्त्री श्रेष्ठले मात्र जवाफ दिएका थिए । देउवाले उठाएका प्रश्नहरूमध्ये ‘महारालाई किन पक्राउ नगरिएको ?’ भन्ने सवालमा मात्र गृहमन्त्री श्रेष्ठ केन्द्रित भएका थिए । ‘तपाईं आज अनपेक्षित रूपमा यस्तो मुढमा किन आउनुभयो, थाह भएन । महराजीका विषयमा चिनियाँसँग संवाद भएको कुरा छ । जोसँग कुराकानी भएको भनिएको हो, उनीहरू भागिसकेका छन् । नेपाल छैनन् । सीआईबीले तिनीहरूलाई पक्राउ गरेर अनुसन्धान नगर्दासम्म के भनेर संवाद भएको भन्ने खुल्दैन,’ श्रेष्ठको भनाइ थियो, ‘मैले त छानबिनमा ल्याउनुपर्छ भने ल्याउनुहोस् भनेको छु तर सीआईबीले मानिरहेको छैन ।’
यता सीआईबीले भेपमा लुकाएर ल्याएको सुन चोरी गर्नेमाथि मात्र मुद्दा चलाएको छ । भेपमा सुन ल्याउने गिरोहसँग प्रत्यक्ष सम्पर्कमा देखिएका महरा र उनका छोरा राहुलमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । ‘भेपमा लुकाएर ल्याएको सुन चोरी गर्नेमाथि मात्रै मुद्दा दायर भएको हो, सुन ल्याउने गिरोहमाथिको अनुसन्धान जारी छ, चोरी र सुन तस्करी गर्ने विषय फरक हुन् ।’ सीआईबीले भेपको सुन प्रकरणमा विभिन्न देशका कानुन कार्यान्वयन गर्ने निकायसँग सहयोग मागिएको जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा खाण पक्राउ पर्ने अर्कोतर्फ सुन तस्करी घटनामा तस्करसँग महराको सम्पर्क स्थापित हुँदा पनि पक्राउ नपर्नुमा गृहमन्त्रीको दोहोरो चरित्र भएको भन्दै कांग्रेस संस्थापन पक्षका नेताहरूको दबाब देउवामाथि छ । सुन तस्करी घटनामा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतप्रति प्रश्न उठाउँदा सांसद सुनील शर्मालाई तत्काल गिरफ्तारी गर्न सक्ने सीआईबीले महरालाई किन नगरेको भन्ने प्रश्न पनि उब्जेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल गठबन्धनको सल्लाहअनुसार काम नगरेको भनेर कांग्रेस सभापति असन्तुष्ट रहे पनि गृहमन्त्री नै बदल्ने परिस्थिति नभएको बताउँछन् । ‘राजनीतिक उतारचढावमा अन्तरकुन्तर असन्तुष्टि हुन्छन् । देउवाजीलाई पार्टीभित्र पनि दबाब भएको होला । राजनीतिमा यस्तो दबाबमा यस्तो गर्नॅपर्‍यो भन्ने कुरा हुन्छन् । तर, गठबन्धन नै भत्काउने वा गृहमन्त्री फेर्ने कुराकानी भएको छैन, परिस्थिति छैन,’ उनले भने ।
साउन २० गते गृह मन्त्रालय र रौतहटको गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको पाँचबुँदे सम्झौताप्रति पनि देउवा असन्तुष्ट छन् । पुराना जाहेरीका आधारमा पनि गौर हत्याकाण्डका दोषीउपर कारबाही गर्न सक्नेलगायत सम्झौतालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले पनि आपत्ति जनाउँदै आएको छ ।

मुख्य पृष्ठ

घरमै बुनिन्छ मौलिक पोसाक

- हरिराम उप्रेती

(गोरखा)
चीनसँग सीमा जोडिएको चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित निले गाउँका प्रायः घरमा कपडा बुन्ने तान छन् । घरायसी कामबाट फुर्सद मिलेका बेला स्थानीय महिला तानमा आफ्ना कपडा तयार पार्न बसिहाल्छन् । यहाँका बासिन्दा
आफ्ना लागि सकेसम्म आफैंले बुनेका कपडा लगाउँछन् ।
चुमनुव्री–७ की पेमा भुटी लामा फुर्सदमा खाली बस्दिनन् । उनको परिश्रमबाट बनेका आकर्षक
पाङ्देनको चर्चा छिमेकी गाउँमा पनि हुने गर्छ । पाङ्देन विभिन्न रङ दिइएको रुमाल आकारको कपडा हो । ३५ वर्षीया पेमाले डेढदेखि दुई दिनमा पाङ्देन तयार पारिसक्छिन् । ‘काठमाडौंबाट धागो ल्याएर घरकै तानमा बुन्छौं,’ उनले भनिन्, ‘हाम्रो गाउँका धेरैजसोले घरमै बुनेका कपडा लगाउँछन्, कोही कोहीमात्र बजारबाट किनेर लगाउँछन् ।’ परम्परागत तानमा आफैंले तयार पारेका कपडा लगाएर हिँड्न पाउँदा छुट्टै आनन्द लाग्ने उनले बताइन् ।
पढाइका लागि काठमाडौंमा रहेका छोराछोरीलाई समेत गाउँमै कपडा तयार पारेर पठाउने गरेको उनले बताइन् । चिनियाँ ङुइला नाका खुला हुँदासम्म स्थानीयले काँचो धागो र ऊन तिब्बतबाट ल्याउँथे ।

अहिले काठमाडौंबाट मगाउँछन् । कोरोनाकालपछि नाका बन्द हुँदा धागो र ऊनको लागत बढेको स्थानीयको भनाइ छ ।
निले गाउँ मात्रै होइन, छेकम्पार वरिपरिका छोखाङपारो, जोङ, ङाक्यु र लेरु, बुर्जी, ङाग, लार, फुर्पे,
पाङ्दुन र छुलेमा महिला पनि आफ्नै घरको तानमा कपडा तयार पार्छन् । ‘यी गाउँका तीन सयभन्दा बढी घरमा कपडा तयार हुन्छ,’ बुर्जीका छिरिङ लामाले भने, ‘केटाले लगाउने बख्खु, केटीले लगाउने आमदुङ, पाङ्देन, मिटिल सबै गाउँमै बन्छन्, लगाउने जुत्ताचाहिँ केटा मान्छेले बनाउँछन्, पहिले छालाको सोल हुन्थ्यो, अहिले जुत्तामा तलबाटै किनेर सोल ल्याएर कपडालाई कलर दिएर गाउँमै जुत्ता तयार हुन्छ ।’ कपडामा रङ दिन पदमचाल (जडीबुटी) राखेर पकाउने गरेको उनले सुनाए । ‘रङ तल (काठमाडौं) बाट किनेर ल्याउँछु, पदमचाल हालेर पकाएपछि जति ठूलो पानीमा भिजे पनि कपडाको रङ जाँदैन,’ उनले भने । बजारमा पाइने पाइन्ट, मोजाबाहेक अन्य कपडा गाउँमै तयार हुने उनको भनाइ छ ।
‘केटा, बूढापाका सबैले एकै किसिमका कपडा लगाउँदा देख्नेले पनि लेकाली ड्रेस भनेर चिन्छन्,’ उनले भने, ‘यस्तो लुगा लगाउन कसैले छाडेका छैनन्, धेरैजसोले आफ्नै घरमा तयार पारेका कपडा लगाउँछन् ।’ ऊन तयारी भए केजीको आठ सय र आफैंले कात्नुपर्ने भए तीन सय पर्ने उनले बताए । उनका अनुसार ऊन किनेर गाउँमै परम्परागत कपडा तयार पार्ने चलन धेरै पुरानो हो ।
निलेकी हिसे ल्यामुलाई पाङ्देनलाई आकार र रङ दिन दुई दिन लाग्छ । परम्परागत तानबाट आफ्ना लागि पाङ्देन बुनेकी उनी तीन छोराका लागि बख्खु पनि तयार पारिरहेकी छन् । निलेमा उनीजस्तै आफ्नो परिवारका सदस्यले लगाउने परम्परागत पहिरन बनाउन बिहानको खानालगत्तै गोठका चौंरी खर्कमा छाडेर तानमा बसिहाल्छन् । ‘हामी आफूले लगाउने कपडा आफैं बुन्छौ,’ उनले भनिन् । संस्कृतिसँगै भेषभूषाको समेत छुट्टै पहिचान बनाएका चुम क्षेत्रका बासिन्दा बख्खु, पाङ्देन, घुरे, थुइमालगायत पोसाक सितिमिति छाड्दैनन् । गुम्बामा हुने पूजा, कार्जे तथा सार्वजनिक कार्यक्रममा समेत यहाँका बालबालिकादेखि पाका पुस्तासम्म सबै परम्परागत पोसाकमै देखिन्छन् । लेकको चिसो हावापानीका कारण पनि न्यानो र बाक्लो कपडा लगाउनुपर्ने बाध्यता छ । यस्ता पोसाक तयार पार्ने सीप अधिकांश स्थानीय महिलाको हातमा छ । हिसेले परम्परागत पोसाक बनाउन आठ वर्षको उमेरमै सिकेकी थिइन् । ‘आमा, बज्यैले तान लगाएको देखेर मैले पनि जानें, ३० वर्ष भइसक्यो अहिले त सबै कपडा तयार पार्ने भइसकेकी छु,’ उनले भनिन् । आफूले तयार पारेका कपडा उनी सितिमिति बिक्री गर्दिनन् ।
आठ दिन लगाएर गलैंचा तयार पारेकी लारकी सेराप छेन्जोमले बिक्री गर्दा परिश्रम अनुसारको मूल्य नपाइने बताइन् । ‘यो बेचे आठ/दस हजार आउँछ, सानैदेखि जानेको कुरा फुर्सदका बेला बुन्ने गर्छु,’ उनले भनिन्, ‘विदेशी पर्यटकले पनि किन्न खोज्छन्, यतैका मान्छेले पनि किन्छन् । बिक्रीको त्यति धेरै चिन्ता हुँदैन तर मिहिनेत अनुसारको भाउ पाउन सकिएको छैन ।’ फुर्सदको समयमा तयार पारेका कपडा परिवारले लगाउनुका अतिरिक्त बिक्री गरेर नुनतेल तथा घट्टमा अन्न पिस्ने खर्चको जोहो भइरहेको उनले सुनाइन् ।

 

Page 2
म्यागेजिन

सकसमा सिकारी चरा

- मनोज पौडेल

(कपिलवस्तु)
थाइल्यान्डको कासेटसर्ट विश्वविद्यालयका प्रोफेसर डा. चाइयान कोसोडोकेबुवा पहिलो पटक सन् २०१५ मा नेपाल आएका बेला यहाँका सिकारी चरा देखेर हुरुक्कै भएका थिए । त्यसयता उनी चरा अवलोकनकै लागि भनेर चारपटक नेपाल आइसकेका छन् । पेसाले पशु चिकित्सक उनी पछिल्लो पटक सन् २०२१ मा नेपाल आएका हुन् । ‘त्यहाँ पाइने सिकारी चरामा रहेको विविधताले विदेशी चरा पर्यटकलाई आकर्षित गरिरहेको छ,’ तीन साताअघि इमेल कुराकानीमा उनले भने, ‘कास्कीको ठूलाखर्कर्मा गोमायु महाचिल र हिमाली गिद्धले उडान भरेको देख्दा स्वर्गमै पुगेको अनुभूति हुन्छ ।’ थाइल्यान्डमै बसेर पनि नेपालका चराबारे अध्ययन र जानकारी बटुलिरहेको उनले सुनाए । ‘खास गरी वासस्थान विनाश र बालीमा विषादी प्रयोगले नेपालमा सिकारी चरा घट्दै गएको देखेर चिन्ता लाग्छ,’ उनले भने ।
प्रोफेसर कोसोडोकेबुवाको जस्तै अनुभूति छ, जापानका चराविद् डा. तोरुयामाजाकीको पनि । चार दशकदेखि सिकारी चराबारे अध्ययन–अनुसन्धानमा सक्रिय उनी बुद्ध जन्मस्थल लुम्बिनीमा सिकारी चराले कावा खाँदै उडेको देख्दा मनै आल्हादित हुने सुनाउँछन् । ‘त्यहाँ त एकैछिनमा ८/१० प्रजातिका सिकारी चरा देख्न पाइन्छ,’ उनले भने, ‘ती चरालाई नजिकैबाट हेरेर फोटो खिच्दा अत्यन्त रोमाञ्चित बन्छु ।’ एसियन र्‍याप्टर रिसर्च एण्ड कन्जरभेसन नेटवर्क जापानका अध्यक्षसमेत रहेका उनको चिन्ता पनि यहाँ सिकारी चराको बासस्थान मासिँदै गएको र चराहरू देखिनै कम भएकामा छ । उनी बर्सेनि नेटवर्कमा आबद्ध चार/पाँच जना चराविद् लिएर नेपाल आउँथे । तर, घट्दो चराको संख्याका कारण चार वर्षयता आफ्नो टोली नेपाल नआएको उनले सुनाए । चराविद् एवं पर्यटनकर्मी डीबी चौधरीका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये करिब १० प्रतिशत चरा अवलोकनकै लागि आउने गरेको बताए ।
सिकारी चराको अध्ययनमा संलग्न व्यक्तिका अनुसार अहिले यी पन्छीको संख्या घट्दै गएको छ । उनीहरूका अनुसार बढ्दो सहरीकरणले बासस्थान संकटमा परेको हो । आहारको कमी छ । खेतबारीमा अत्यधिक मात्रामा विषादीको प्रयोग र सिमसार क्षेत्रको अतिक्रमणले पनि सिकारी चरा संकटमा पर्दै गएका हुन् । समस्या यतिमै मात्र सीमित छैन । तालतलैया, पोखरीमा धेरै माछा मार्दा सिकारी चरालाई आहार अभाव भएको छ । सर्वसाधारणले गुँड भत्काउँदा र चल्ला हुर्किन नदिई चलाइदिँदा पनि समस्या बढेको छ । सिकारी चरामा विद्यावारिधि गरेका डा. तुलसी सुवेदीले यी समस्याका अलावा चोरी सिकार, अवैध व्यापार, बिजुलीका तारसँग ठोक्किने र करेन्ट लाग्ने समस्याले पनि सिकारी चरालाई समस्या थपिरहेको बताए । ‘यी यावत् समस्याले गर्दा किसानलाई साथीका रूपमा गुन लगाउँदै पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सहयोग गर्ने सिकारी चरा दिन प्रतिदिन घटिरहेका छन्,’ उनले भने, ‘यसले कृषकदेखि पर्यटन र वातावरणलाई नकारात्मक असर गरिरहेको छ ।’
आधुनिक विकास निर्माणको असर मानव जीवनमा मात्र परेको छैन, यहाँका अन्य जीवजन्तुमा समेत परेको विज्ञहरूको भनाइ छ । मानव वासस्थान सुविधासम्पन्न बने पनि प्रकृतिका अन्य साझेदार प्राणीको जीवन भने संकटबाट गुज्रिरहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । जलवायु परिवर्तनले पृथ्वीको तापक्रम वृद्धि हुँदा पानीका मूल र सीमसार क्षेत्र सुक्ने, वायु र ध्वनि प्रदूषण बढ्नुले चराको बासस्थान विनाश हुँदै गएको उनले लुम्बिनी फार्मस्केप पुस्तकमा उल्लेख गरेका छन् । आहारको कमी हुँदै गएपछि सिकारी प्रजातिका चराको संख्यामा पनि कमी हुँदै आएको डा. सुवेदीले बताए । सन् २०१२ देखि सुवेदी र सन्देश गुरुङले सिकारी चराको अनुसन्धान गरिरहेका छन् । त्यही समयदेखि नेपालमा सिकारी चराको गणनासमेत हुँदै आएको छ । उनीहरूका अनुसार सिकारी चराको आवागन हुने मुख्य थलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको ठूलाखर्क हो । लोभलाग्दो हिमशृंखलाअघि छ्याङ्ग खुलेको आकाशमार्ग हुँदै बसाइँ सर्ने सिकारी चराको गणना उनीहरूको उमेर अनुसार अल्प–वयश्क, वयस्क अनि बच्चा भनेर गरिन्छ । ‘बसाइँ सरेर आउने करिब ३३ प्रजातिका चरा गणना गर्छौं,’ चराविद् डा. सुवेदीले भने, ‘अन्य चरा सय र पचासको संख्यामा गणना हुन्छन् ।’
सिकारी चरा अध्ययन अनुसन्धान गर्ने द पेरिग्रिन फन्डका अनुसार विश्वमा धेरै सिकारी चरा अवलोकन गर्न पाइने प्रमुख दस स्थानमध्ये सात ठाउँ नेपालमै छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वरन्डाभार जंगल एवं सिमसार, अन्नपूर्ण संरक्षण क्षेत्र र लुम्बिनी–जगदीशपुर कृषि भूमि र सीमसार क्षेत्र रहेका छन् । तर, पछिल्लो समय जंगल फँडानी, डढेलो, बढ्दो सहरीकरण र चोरी सिकारीले बासस्थल विनाश हुँदा सिकारी चरा समस्यामा परेको र देखिन छाडेका छन् । त्यसैले विश्वमै धेरै प्रजातिका सिकारी चरा पाइने नेपालका ६ ठाउँमध्ये लुम्बिनी–जगदीशपुर कृषि भूमि र सीमसार क्षेत्रबाहेकमा सिकारी चरा घटिरहेको द पेरिग्रिन फन्डले उल्लेख गरेको छ ।
विश्वमा सिकारी चरा करिब ५ सयभन्दा बढी प्रजातिका छन् । अहिले १८ प्रतिशतको हाराहारीमा लोप हुने खतरामा पुगेको र ५२ प्रजातिको संख्या घट्दो क्रममा रहेको चराविद्हरू बताउँछन् । सिकारी चरा अनुसन्धान र संरक्षण गर्ने विश्वकै अग्रणी संस्था द पेरिग्रिन फन्डका अनुसार ५९ प्रजातिका सिकारी चराको विश्वव्यापी आकार अनुमान पनि नगरिएको अवस्थामा रहेको छ ।
नेपालमा ८ सय ९२ प्रजातिका चरा पाइन्छन्, जसमध्ये ८३ प्रजातिका सिकारी चरा हुन् । तीमध्ये दिनमा गिद्ध, चिल, बाज र बौडाइलगायत ६० प्रजाति र रातमा लाटो कोसेरोलगायतका २३ प्रजाति सक्रिय हुन्छन् । दिनमा सक्रिय हुने ६० प्रजातिमध्ये १२ प्रजाति विश्वव्यापी रूपमै खतराको सूचीमा छन् । त्यसमध्ये ४ प्रजाति अति संकटापन्न, ४ प्रजाति संकटापन्न र ४ प्रजाति संवेदनशील सूचीमा रहेका छन् । २८ प्रजातिका सिकारी चरा राष्ट्रियस्तरमा खतराको सूचीमा छन् । त्यसमध्ये १३ प्रजाति अतिसंकटापन्न, ४ प्रजाति संकटापन्न र ११ प्रजाति संवेदनशील छन् । विश्वमा सिकारी चरा झन्डै ५ सय प्रजातिका छन् । सिकारी चरामध्ये १८ प्रतिशतको हाराहारीमा लोप हुने खतरामा पुगेको चरा संरक्षणका लागि बनाइएको राष्ट्रिय रातो किताब २०१६ मा उल्लेख छ ।
अंग्रेजीमा र्‍याप्टर्स भनिने सिकारी चरा धेरै घुमफिर गर्ने पन्छी मानिन्छ । तेजिला आँखा भएका तिखा र बलिया नंग्राहरू भएका सिकारी चराका ठुँड अंकुसी परेको, धारिलो र बलियो हुन्छ । अरू चराको तुलनामा बढी उड्ने क्षमता भएका यिनका पखेटा र खुट्टा पनि बलिया हुन्छन् । अपवाद बाहेक मासुबिना बाँच्न नसक्ने सिकारी चराहरूमध्ये सानाले सर्प, छेपारा, फट्यांग्रा, धमिरा, सलह र गाइने किरालगायत आहार गर्छन् भने ठूला बाजले साना चरा, मुसा र भ्यागुताको सिकार गर्छन् । चिलले कुखुरा, माछा, खरायो, लोखर्के र साना स्तनधारी पन्छीलाई सिकार बनाउँछ । गिद्धले सिनोलाई महत्त्व दिन्छ । पर्यावरण सन्तुलित बनाउन यसको महत्त्वपूर्ण भूमिका छ । मुसेचिल, कालो चिल, लघुमहाचिल र श्येन बाज लगायतका चराले मुसाको बढी सिकार गर्छन् । त्यसपछि सुगा, भँगेरा र पानीचरालगायतको सिकार गर्छन् ।
ठूलो संख्यामा बसाइँ सरेर गोमायु महाचिल र हिमाली गिद्ध नेपालमा आउँछन् । चराविद्हरूका अनुसार सन् २०१३ मा यी दुई प्रजातिका सहित १३ हजार ४ सय ८५ चरा नेपाल आएका थिए । २०२१ मा घटेर ७ हजार ७ सय २४ चरा यहाँ आइपुगेको कुरा सिकारी चराविद् डा. तुलसी सुवेदी र सन्देश गुरुङद्वारा गरिएको अनुसन्धानमा उल्लेख छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको ठूलाखर्क सिकारी चराको बसाइँ सर्ने मुख्य मार्ग हो । चराविद्हरूका अनुसार यी चराहरू नदी, पहाड, पहरा र तारालाई पछ्याउँदै एउटै बाटो प्रयोग गरेर बसाइँ सर्छन् । ‘ठूलाखर्कमा ४०/४५ मिटरमाथिबाट चराले माइग्रेसन गरेको देखिन्छ,’ चराविद् कृष्णप्रसाद भुसालले भने, ‘अन्नपूर्ण हिमशृंखलासँगै माइग्रेसन गर्ने चरा देख्दा रोमाञ्चक महसुस हुन्छ ।’
सिकारी चरा बसेको ठाउँमा चिसो बढेपछि सहजताका लागि उनीहरू नेपाल प्रवेश गर्छन् अनि नेपालभरि छरिन्छन् । चराविद् भुसालका अनुसार गोमायु महाचिलले ढुंगेपहरा भएको घाँसे क्षेत्रमा बच्चा हुर्काएर मंगोलिया र चीनबाट यता आउँछन् । हिमाली गिद्ध भने चीन र तिब्बतबाट आउँछन् । हिमाली गिद्ध कहिले नेपाल बस्छन् त कहिले भारतको मध्य प्रदेशसम्म पुग्ने र मे सुरुतिर हिमाल पार गरेर चीनतिरै फर्किने गरेको उनले बताए । ‘सिकारी चराहरू चार/पाँच दिनदेखि साता/दश दिनसम्म उडेर नेपाल आउने गर्छन्,’ चराविद् भुसालले भने, ‘हिमाली गिद्धको अनुसन्धान गर्दा एक दिनमा ३ सय ९० किमिसम्म उडेको देखिएको छ ।’
त्यस्तै नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । हिउँदमा जाडो छल्न बसाइँसराइ गरी नेपालसम्म आइपुग्ने गिद्धमा राज, खैरो र लामो ठुडे गिद्ध पर्छन् । यिनीहरूले यहाँ बच्चा कोरल्दैनन् । पछिल्लो समयमा सन् २०११ बाट लामो ठुडे गिद्ध नियमित आउन थालेको चराविद् भुसालले बताए । जाडो छल्न बसाइँ सर्ने क्रममा बटुवाका रूपमा नेपाल झर्ने खैरो गिद्ध पनि पछिल्लो समयमा लामो समय नेपालमा बस्न थालेको उनले सुनाए । पूर्वी हिमाल कञ्चनजंगादेखि मकालु वरुण रेन्जबाट सिकारी चरा बसाइँसराइका क्रममा बढी नेपाल छिर्छन् ।
चराविद् डा. सुवेदीले बसाइँ सरेर आउने सिकारी चराको संख्या बर्सेनि घट्दै गएको पनि बताए । सन् २०२०/२१ मा डा. सुवेदी र गुरुङको टोलीले गरेको प्रति १ सय बिजुलीका पोल अनुगमन गर्दा ८ वटा चरा मरेको फेला पारेका थिए । त्यसरी मृत्यु हुनेमा दुई वटा सिकारी चरा पनि थिए । नेपालका लुम्बिनी, अन्नपूर्ण, पोखरा र चितवनका १ हजार १ सय ८ बिजुलीका पोल अनुगमन गरिएको थियो । यो अध्ययनले बिजुलीको तारमा ठोक्किएर, पोलमा बस्दा करेन्ट लागेर चरा मर्ने गरेको निष्कर्ष निकालेको छ ।
कास्कीको पन्चासेमा गत वर्ष बिजुलीको पोलमा बस्दा करेन्ट लागेर एउटा जुरेचिलको मृत्यु भयो । त्यही नजिकैको तारमा ठोक्किएर हिमाली गिद्धले पनि प्राण त्याग्यो । गत चैतमा पूर्व नवलपरासीको नवलपुरको कावासोती नगरपालिका–३ मा पाँच वटा डंगर गिद्ध विष सेवन गर्दा मरे । स्थानीयले विष प्रयोग गरी मारेको स्याल खाँदा ती गिद्ध मरेका थिए । चराविद् डा. सुवेदीका अनुसार बसाइँ सरी नेपाल आउने मुख्य सिकारी चरामा चिल, गिद्ध, मधुहा, बाज, बौडाइ, बेसरा, भुइँ चिल र महाचिल (सुपर्ण, जीवाहार, रणमत्त, राग, गोमायु तथा लघु) छन् । त्यस्तै कालोचिल, चल्लाचोर भुइँचिल, श्वेत भुइँचिल, तोपबाज, शाहीबाज, सानो बौडाइ, अमुरबाज, लघु महाचिल र कमकम चिल पनि बसाइँ सरेर नेपाल आउँछन् । बढ्दो पर्यावरणीय संकटका कारण यी चराहरूको संख्या घट्दै गएको डा. सुवेदीले बताए ।
विश्वव्यापी रूपमा सिकारी चराको संरक्षण गर्ने उद्देश्यले अमेरिकामा स्थापित द पेरिग्रिन फण्डले पनि नेपालमा सिकारी चरा घट्दै गएको जनाएको छ । सन् २०१८ मा
फन्डका निर्देशक क्रिस म्याकलोरको स्टेट अफ वर्ल्ड र्‍याप्टर्स ः डिस्ट्रिब्युसन, थ्रेट एन्ड कन्जरभेसन रिकम्नेडेसन शीर्षकमा बायलोजिकल जर्नलमा प्रकाशित अनुसन्धानमा समेत नेपालमा सिकारी चरा घट्दै गएको उल्लेख छ । ‘यो राम्रो पक्ष होइन । सिकारी चरा संरक्षणका नीति र योजना बनाई प्रभावकारी कार्यान्वयनमा जान ढिलो गर्नु हुँदैन,’ जर्नलमा भनिएको छ, ‘सबै वन्यजन्तु र मानवको फाइदाका लागि विश्वव्यापी रूपमा सिकारी पन्छीहरूको संरक्षण गर्न आवश्यक भइसकेको छ ।’

म्यागेजिन

मुख्य बासस्थान लुम्बिनी

- कान्तिपुर संवाददाता


सिकारी चराका लागि नेपालमा लुम्बिनी क्षेत्र स्वर्गसरह रहेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । खुला ठाउँ, खेतबारी, घाँसे मैदान, सिमसार, हरियाली र रूखबिरुवाको विविधताले अहिले लुम्बिनी सिकारी चराको राम्रो बासस्थान रहेको उनीहरूको तर्क छ । दिनमा सक्रिय हुने ६० प्रजातिका सिकारी चरामध्ये ४५ प्रजातिका चरा लुम्बिनीमा बस्ने गरेको डा. हेमसागर बरालले बताए ।
विश्वमा पाइने सिकारी चरामध्ये १९ प्रतिशत यहाँ पाइने उनले आफ्नो पुस्तक लुम्बिनी फार्मस्केपमा उल्लेख गरेका छन् । उनका अनुसार नेपालमा पाइनेमध्ये ७५ प्रतिशत सिकारी चरा लुम्बिनीमा अवलोकन गर्न पाइन्छ । विश्वकै दुर्लभ १२ प्रजातिका चरा लुम्बिनीमा देख्न पाइन्छ । जीवाहार, लघु, रणमत्त, गोमायु, राग महाचिल, डंगर, खैरो, सेतो, सुन र लामो ठुडे गिद्ध तथा तोपबाज र सानो कमकम चिल दुर्लभ प्रजातिका सिकारी चरा यहाँ सजिलै देख्न पाइने नेसनल रेड लिस्ट अफ बर्ड्स अफ नेपाल पुस्तकमा पनि उल्लेख छ ।
मुलुकमा विश्वकै दुर्लभ लघु महाचिल ३० देखि ७० वटा रहेको अनुमान छ । सिकारी चराविद् डा. तुलसी सुवेदी, सन्देश गुरुङ र धीरज चौधरीद्वारा गरिएको एक अनुसन्धानमा यीमध्ये १५ वटा चरा लुम्बिनीमा रहेको तथ्यांक संकलन गरिएको थियो । लुम्बिनीमा हिउँदमा २५/३० प्रजातिका सिकारी चरा देख्न पाइने सिकारी चराविद् डा. तुलसी सुवेदीले बताए ।

Page 3
समाचार

बस्दै नबसी सर्‍यो संसद् बैठक

- जयसिंह महरा

(काठमाडौं)
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित संघीय संसद्का दुवै सदनमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष एमाले र सत्तारूढ दलहरू आफ्ना अडानबाट टसमस नभएपछि प्रतिनिधिसभा बैठक आइतबार पनि सूचना टाँसेर स्थगित गरिएको छ ।
संसद्मा जारी अवरोध अन्त्य गर्ने उपाय खोज्न प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा एमाले उच्चस्तरीय समिति गठन गनैपर्ने आफ्नो मागबाट पछि हट्न तयार भएन भने सत्तारूढ दलहरूले पनि सुन तस्करी प्रकरणमा अनुसन्धान
गरिरहेको सीआईबीको मनोबल गिर्ने गरी काम नगर्ने अडान लिएका थिए ।
बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले सीआईबीले सुन तस्करीमा संलग्न भएको आरोप लागेका नेताहरूलाई छानबिनको दायरामा नल्याएकाले उच्चस्तरीय छानबिन समितिको माग राखेको जानकारी दिए । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोस्रो चरणको छानबिन गर्छौं भन्दै थियो तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गर्ने काम गरेको छ, सुन तस्करी प्रकरणमा पनि राजनीतिक व्यक्तिहरू सहभागी रहेको सार्वजनिक भइरहेका छन्, ती मान्छेहरूलाई सीआईबीले छानबिनको दायरामा ल्याउन सकेन,’ उनले भने, ‘उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टि गरेका छन् । हामीले उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत् नै राख्यौं ।’
सत्ता र प्रमुख प्रतिपक्षबीचका विवादित विषयमा छलफल भए पनि सहमतिको बिन्दुमा पुग्न नसकिएको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिए । सोमबार ४ बजे फेरि बैठक बस्ने र त्यसबाट सहमतिको अधिकतम प्रयास गरिने उनको भनाइ छ । ‘प्रमुख प्रतिपक्षको उच्चस्तरीय छानबिन समिति गठन हुनैपर्छ भन्ने एउटा लाइन थियो,’ लामिछानेले प्रतिपक्ष र गृहमन्त्रीको भनाइ उल्लेख गर्दै भने, ‘सरकारका तर्फबाट गृहमन्त्री पनि सहभागी हुनुहुन्थ्यो । अनुसन्धानले एउटा गति लिएको छ र आफ्नै ढंगले अगाडि बढेको छ । समानान्तर ढंगले अर्को संयन्त्र बनाउँदा अनुसन्धान प्रभावित हुन्छ ।’
सीआईबीलाई मुद्दा अभियोजनका लागि प्राप्त समयसम्म कुर्ने कि भन्ने विषयमा पनि छलफल भएको लामिछानेले जानकारी दिए । ‘संसद् खुल्यो भने हामी गृहमन्त्रीलाई अनुसन्धानमा भएका कमीकमजोरीबारे प्रश्न गर्न पाउँछौं, संसद्चाहिँ अवरुद्ध हुन भएन भन्ने हो, जे छलफल गर्नुपर्नेछ, सदनमा गरौं,’ उनले भने, ‘भोलि सहमतिमा पुग्छौं भन्ने विश्वास छ ।’
बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, रास्वपा सभापति लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले प्रमुख सचेतक गिरी, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी थिए । एमाले अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्य समस्याका कारण बैठकमा गएनन् ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने प्रतिपक्षले मागेजस्तो उच्चस्तरीय छानबिन समिति गठनको सम्भावना न्यून रहेको संकेत गरे । उनले सीआईबीले नै छानबिन गरी निष्कर्षमा पुर्‍याउने बताए । ‘सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको छ, सीआईबीले नै टुंगोमा पुर्‍याउनेछ,’ उनले भने, ‘मैले संसद्मा सम्बोधनमै यो विषय प्रस्ट राखिसकेको हुँ, हामीकहाँ यस्तो सांगठनिक अपराधमा अभियोजनका लागि ६० दिनको समय हुन्छ । त्यसमध्ये राजस्व अनुसन्धानले नै २० दिन गुजारिसकेको छ, बाँकी रहेको ४० दिनमा पनि सीआईबीले नै काम गर्ने भनेको ३५ दिन मात्रै हो ।’
राप्रपा अध्यक्ष लिङ्देनले सत्ता र प्रतिपक्षलाई स्विकार्न सहज हुने गरी समझदारीको मध्यमार्ग खोज्नेबारे छलफल भएको जानकारी दिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दलहरूबीच संसद् अवरोध हटाएर अगाडि बढ्नेबारे सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक भने सूचना टाँसेर स्थगित गरिएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक दुई घण्टापछिसम्म पनि बस्न नसकेपछि सभामुख देवराज घिमिरेले सूचना टाँस्न महासचिवलाई निर्देशन दिएका थिए । सिंहदरबारको बैठकपछि माओवादी मुख्य सचेतक पाण्डेले भनेका थिए, ‘सदन सुचारु गर्नेबारेमा सकारात्मक छलफल भयो, भोलि एकपटक पुनः बैठक बसेर पर्सि ३ बजेसम्म रोक्ने र त्यसपछि संसद् अघि बढाउने सहमति छ ।’
सभामुख घिमिरेले आइतबारै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सदनको अवरोध खुलाउनेबारे छलफल गरेका थिए । निष्कर्षविहीन बैठकपछि सभामुखले भनेका थिए, ‘संसद् खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । संसद् खुल्ने कि नखुल्ने भन्ने कुरा समिति बनाउने कि नबनाउने भन्नेमा गएर अड्किने गरेको छ ।’ राजनीतिक दलहरूलाई संवादबाट अवरोधको समाधान खोज्न आग्रह गरेको घिमिरेको भनाइ थियो ।
साउन महिनामा प्रतिनिधिसभाका ८ बैठक अवरुद्ध भएका छन् । पाँचवटा बैठक एमालेको नाराबाजी र वेल घेराउले स्थगित भए तीनवटा बैठक सूचना टाँसेर स्थगित गरिएका थिए । राष्ट्रिय सभामा पनि एमालेको अवरोधले कानुन निर्माणलगायत सांसदहरूले सरकारलाई जवाफदेही गराउने विषयमा बोल्न पाएका छैनन् । संसद्मा भ्रष्टाचार निवारण र अख्तियारसँग सम्बन्धित विधेयक ०७६ सालदेखि संसद्मा विचाराधीन छन् ।
त्यस्तै, संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन ०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन ०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा अलपत्र परेका छन् । सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित विधेयक पास नहुँदा नेपालको साख अन्तर्राष्ट्रिय छविमा खस्कने जोखिम छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत राजस्व चुहावटसँग सम्बन्धित कानुनमा बदलाव गर्ने प्रस्ताव पनि संसद्मा पुर्‍याएको हो । संसद्मा हाल १५ विधेयक विचाराधीन छन् भने संसदीय समितिको सभापति चयन प्रक्रिया पनि रोकिएको छ ।

समाचार

दलीय दाउपेचले कोशीमा सत्ता–संकट

- देवनारायण साह

(मोरङ)
सत्तास्वार्थको राजनीतिक दाउपेचमा कोशी प्रदेशसभाको मर्यादा फेरि संकटमा परेको छ । सभामुखको जिम्मेवारीमा समेत रहेकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा बैठकमा छलफलका लागि पेस गर्न सोमबार दिउँसो १ बजेको समय तोकेकी छन् । तर दलीय स्वार्थका कारण उनी आफैंले बोलाएको बैठकमा अनुपस्थित हुने सम्भावना छ । उनी आइतबार साँझ नै काठमाडौं गएको स्रोतको दाबी छ ।
उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न सक्छन् । यस्तोमा सत्ता र प्रतिपक्ष दुवै आ–आफ्नै सत्तास्वार्थको दाउपेचमा लागेका छन् । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी गरी ४७, प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारूढ गठबन्धनसँग बहुमत सदस्य भए पनि उपसभामुख दनुवार वा प्रतिपक्षबाट ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने अवस्था छ ।
उपसभामुख अनुपस्थिति हुँदा बैठक सञ्चालन गर्ने जिम्मेवारी अध्यक्षमण्डल र ज्येष्ठ सदस्यमा आउँछ । तर, अध्यक्षमण्डलमा रहेका र ज्येष्ठ सदस्य गरी ९ विपक्षी सांसदले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् ।
प्रदेशसभाले गठन गरेको ४ सदस्यीय अध्यक्षमण्डलका सदस्यमध्ये वर्णानुक्रम वा ज्येष्ठताका आधारमा एक जनाले प्रदेशसभाको अध्यक्षता गर्नेछन् । अध्यक्षमण्डलमा कांग्रेसका इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर बिष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् । उपसभामुखले राजीनामा दिएको अवस्थामा अध्यक्षमण्डल भंग हुने कानुनी व्यवस्था छ । त्यसपछि प्रदेशसभाका ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेर एमाले र राप्रपाका ज्येष्ठ सदस्यलाई बैठकको अध्यक्षता गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेका छन् । अहिले ज्येष्ठ सदस्यमा एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की, राप्रपाका प्रमुख सचेतक ६९ वर्षीय बिष्ट, एमालेकी ६८ वर्षीया लिम्बू, एमालेका ६८ वर्षीय रामप्रसाद मेहता, एमालेका ६८ वर्षीय खड्गबहादुर बस्नेत, एमालेकी ६७ वर्षीया ढकाल, एमालेका ६६ वर्षीया किशोरचन्द्र दुलाल, राप्रपाका ६६ वर्षीय गोपालबहादुर विश्वकर्मा र एमालेका ६५ वर्षीय ज्ञानेन्द्र सुवेदी छन् । उनीहरू सबैले सोमबार प्रदेशसभामा उपस्थित नहुने सूचना दर्ता गराएका छन् । उनीहरूपछि कांग्रेसका ६४ वर्षीय अमृतकुमार अर्यालको पालो आउनेछ ।
उपसभामुख दनुवार अनुपस्थित भएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत लिन छाडेर अदालतको ढोका ढकढक्याउने तयारीमा जुटेका छन् । मुख्यमन्त्री थापा जसरी पनि उपसभामुख वा प्रतिपक्षी दलबाट अध्यक्षमण्डलका सदस्य वा ज्येष्ठ सदस्यको अध्यक्षतामा विश्वासको मत लिने दाउमा छन् । एमाले र राप्रपा भने बैठकको अध्यक्षता नगर्ने रणनीतिमा छन् । राप्रपाका प्रमुख सचेतक बिष्टले विश्वासको मत लिने बैठक राप्रपाले बहिष्कार गर्ने निर्णय गरेको बताए ।
उपसभामुख दनुवार अनुपस्थित हुने अवस्थामा सत्तापक्ष अदालतमा निषेधाज्ञा मुद्दा दर्ता गराउने तयारीमा छ । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले उपसभामुख अनुपस्थित भएको अवस्थामा कानुनी उपचारमा जाने तयारीमा रहेको बताए । अध्यक्षमण्डलमा भएका सत्तापक्षकै सदस्यलाई भने मुख्यमन्त्री थापाले आफैं अनुपस्थित गराएर मुद्दा प्रक्रियामा जाने तयारी गरेको कांग्रेसका एक सांसदले बताए । मुख्यमन्त्री थापाले सत्ता गठबन्धन दलका सांसदको अध्यक्षतामा बस्ने बैठकबाट विश्वासको मत नपुग्ने भएकाले गठबन्धन दलका सांसदलाई समेत अनुपस्थित गराएर अदालतमा रिट दायर गर्ने तयारी गरेको कांग्रेसका ती सांसदले बताए । अदालतले उपसभामुख वा ज्येष्ठ सदस्यलाई बैठकमा उपस्थित हुने आदेश जारी गरिदिएको अवस्थामा सहजै विश्वासको मत पाउने रणनीतिमा मुख्यमन्त्री थापा रहेको उनले सुनाए ।
बैठकमा अनुपस्थित हुन र राजीनामाका लागि उपसभामुख कुनै किसिमको दबाब र प्रभावमा नपर्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीको दाबी छ । उनले उपसभामुख दनुवारले प्रदेशसभाको बैठकमा उपस्थित हुने वा नहुने विषयमा स्वविवेक प्रयोग गर्न स्वतन्त्र रहेको बताए । एमालेले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने अवस्था नरहेको उनले बताए ।
यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले असार २१ मा असंवैधानिक रूपमा कांग्रेस नेता थापालाई मुख्यमन्त्रीका लागि बहुमत जुटाउन गरेको हस्ताक्षरलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर मात्र गरेन, थापाको मुख्यमन्त्री पद नै खारेज गरिदियो । त्यसपछि तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराएर थापा दोस्रो पटक साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । यसअघि सत्ता गठबन्धन दलले सरकार बनाउनका लागि सभामुखको तटस्थ पदको ‘बदनाम’ गराएका थिए । प्रदेशसभा बैठकको अध्यक्षता गर्ने र नगर्ने विषयमा उपसभामुख दनुवारले आइतबार बोल्न चाहिनन् ।
एमाले प्रदेश संसदीय दलका उपनेता रामबहादुर मगरले अध्यादेशबाट आएको बजेटमा सामान्य हेरेफेर मात्रै गरेर प्रतिस्थापन विधेयक ल्याउने, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा, गठन तथा सञ्चालन ऐन सहमतिमा ल्याउने अवस्थामा विश्वासको मत दिने छलफल भए पनि त्यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार दलका नेता हिक्मतकुमार कार्कीमा रहेको बताए । उनले सत्तापक्ष सहमतिमा अघि बढ्न खोजेको अवस्थामा मात्र विश्वासको मत दिएर प्रदेशलाई राजनीतिक स्थिरता प्रदान गर्न एमाले तयार रहेको तर त्यसका लागि सत्तापक्ष तयार नरहेको अवस्था देखिएको उनले सुनाए । संविधानको धारा
१६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री
नियुक्त भएको ३० दिनभित्र अर्थात् भदौ १३ गतेसम्म प्रदेशसभाबाट विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ ।

Page 4
युवा ग्यालरी

मिल्टन कलेजमा ‘हाम्रो बजार’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालको निःशुल्क अनलाइन क्लासिफाइड मार्केटप्लेस ‘हाम्रो बजार’ ले आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित मिल्टन इन्टरनेसनल कलेजमा विद्यार्थी साझेदारी कार्यक्रम गरेको छ । विद्यार्थी र उद्योग विज्ञहरूबीचको खाडल कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
हाम्रो बजार र यसका साझेदारहरू ः बजाज पल्सर र नेपकम सर्भिसेसको परिचयसँगै सुरु भएको कार्यक्रममा कतार एयरवेज नेपालका प्रबन्धक सारिक बोगटीले व्यावसयिक यात्रा र चुनौतीबारे बताएका थिए । उद्योग तथा व्यापारिक क्षेत्रमा क्रियाशील हुनुअघि प्रत्येक व्यक्तिले आफ्नो सीप र काम गर्न चाहेको क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । आफूले स्नातकोत्तरसम्मको अध्ययनपछि मात्र व्यावसायिक क्षेत्रमा प्रवेश गरेको र बाल्यकालको रुचिअनुसारको क्षेत्र भएकाले सफलता मिलेको बोगटीले बताए । त्यसका साथै, उनले कर्पोरेट कार्य संस्कृतिबारे विद्यार्थीमाझ आफ्नो अनुभवसमेत बाँडेका थिए ।
वर्तमान समयमा सूचना प्रविधिको महत्त्वलाई जोड दिँदै भावी उद्यमीलाई जिज्ञासु र बलियो बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ । ‘हाम्रो बजार’ ले एक वर्षभित्र विभिन्न शैक्षिक संस्थामा एक सयवटा विद्यार्थी साझेदारी कार्यक्रम गर्ने योजना बनाएको छ । अर्को कार्यक्रम अगस्ट २१ मा एक्मी कलेज अफ इन्जिनियरिङमा हुने दीपेश मिश्रले बताए ।

युवा ग्यालरी

'मोनालिसा’ चोरी

- कान्तिपुर संवाददाता


सन् १९११ को आजकै दिन (अगस्ट २१) मा लियोनार्दो दा भिन्चीको विश्वविख्यात चित्रकला ‘मोनालिसा’ चोरी भएको थियो । फ्रान्सको राजधानी पेरिसस्थित लोभ्रे संग्रहालयमा राखिएको चित्र इटालीका तीन जना कामदारहरूले चोरेका थिए । भिन्सेन्जो पेरुगियाको योजनामा चोरी गरिएको चित्र १९१३ मा इटालीबाट बरामद गरिएको हो ।
विश्वकै महान् चित्रकार दा भिन्चीले करिब एक वर्ष लगाएर मोनालिसाको चित्र १५०४ मा तयार पारेका हुन् । चित्रमा देखिने महिला फ्लोरेन्सका धनाढ्य फ्रान्सेस्को डेल जियोकोन्डाकी श्रीमती लिसा गेरार्डिनी हुन् । ‘ला जियोकोन्डा’ का नामले समेत परिचित उक्त कलामा मोनालिसालाई रहस्यमय मुस्कानका साथ निकै आकर्षक देखिन्छ ।
सन् १५०३ मा बनाउन सुरु गरेर एक वर्षपछि सकेका भए पनि दा भिन्चीले चित्रमा विभिन्न काम गरेर १५१७ मा बल्ल अन्तिम रूप दिएका थिए । ‘मोनालिसा’ सन् १७९७ देखि फ्रान्सको राजधानी पेरिसस्थित लोभ्रे संग्रहालयमा राखिएको छ । उक्त संग्रहालयको विश्वमै सबैभन्दा धेरै मानिसले भ्रमण गरिसकेका छन् । विश्वकै सबैभन्दा महँगो चित्र मोनालिसाको मूल्य कम्तीमा ८६ करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

युवा ग्यालरी

हारेर पनि जितेकी केर

- हिमेश

(काठमाडौं)
महिला फुटबल पनि उत्तिकै उम्दा हुन्छ, यसमा पनि त्यत्तिकै रोमाञ्चकता र सनसनी हुन्छ भनेर प्रमाणित गर्दै महिला विश्वकप २०२३ आइतबार टुंगियो । यसले एउटा अर्को तथ्य पनि स्थापित गरेको छ र त्यो हो, महिला फुटबलसँग ठूला न ठूला नाम चलेका स्टार खेलाडी हुन सक्छन् । यस्तो खेलाडी को त ? प्रश्न उठ्न सक्छ । तर त्यसको तुरुन्तै आउने उत्तर हो, साम केर । अस्ट्रेलियाले पक्कै पनि उपाधि जितेन तर यसै टिमका कप्तान केर भने जताततै छाइन् ।
महिला फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा ठूलो नाममध्ये एक हो, केर । प्रदर्शनका आधारमा पनि उनी अहिलेको पुस्ताका खेलाडीमध्ये सबैभन्दा अगाडि छन् । यसपल्ट अस्ट्रेलिया आफ्नै घरमा भएको विश्वकपमा सेमिफाइनलमै रोकियो, पारम्परिक प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग । तेस्रो स्थानका लागि भएको खेलमा पनि स्विडेनसँग पराजित रह्यो । तर अस्ट्रेलियाका लागि सेमिफाइनल पुग्नु पनि ठूलै उपलब्धि हो । चोटका कारण केरले सुरुदेखि खेल्न सकिनन् तर जति खेलिन्, साँच्चै सबैको मन जितिन् । अर्थात् उनले हारेर पनि जितिन् ।
पूरा नाम हो, समन्था मे केर । छोटकरीमा साम केर । उनी व्यावसायिक खेलाडीका रूपमा चेल्सीका लागि खेल्छिन्, फरवार्डका रूपमा । उनको नाममा एउटा गज्जबको कीर्तिमान छ, यही एक तथ्यले उनी कस्तो खेलाडी हुन् भनेर प्रमाणित गर्छ । उनी तीन फरक लिगमा ‘गोल्डेन बुट’ अवार्ड जित्ने एक मात्र खेलाडी हुन् । उनले यो उपलब्धि अस्ट्रेलिया र न्युजिल्यान्डको डब्लू–लिग, उत्तर अमेरिकाको एनडब्लूएसएल र युरोपको वुमेन्स सुपर लिगमा हात पारेकी हुन् ।
सन् २००८ देखि पर्थ ग्लोरीका लागि खेलेकी केरले त्यसपछि सिड्नी एफसी, वेस्टर्न न्युयोर्क फ्लास, सिकागो रेड स्टार्स हुँदै चेल्सी पुगेकी हुन् । उनको खेलमा गति उत्तिकै हुन्छ, फेरि गति मात्र होइन्, गतिसँग बल पनि नियन्त्रणमा राख्न सक्छिन् । अनि शक्तिशाली प्रहारका लागि पनि उनी माहिर छन् । उनको खेलको एउटा सबैभन्दा ठूलो विशेषता ‘हेड’ हो । महिला फुटबलमा उनी जत्तिको सटीक र कडा हेड गर्ने विरलै पाइन्छ भनिन्छ ।
केरले एउटा कुरा बारम्बार भन्ने गर्छिन् र यो हो, क्याथी फ्रिमनबारे । सन् २००० मा अस्ट्रेलियाको सिड्नीमै भएको ओलम्पिक्समा फ्रिमनले महिला चार समय मिटरमा स्वर्ण जितेकी थिइन् । फ्रिमन अस्ट्रेलियाली आदिवासी हुन् । सिड्नीमा उनले अविश्वसनीय रूपमा अन्तिम मोडमा सबैलाई उछिन्दै स्वर्ण जितेकी थिइन् । त्यसलाई अस्ट्रेलियाली खेलकुदकै सबैभन्दा ठूलो ऐतिहासिक घटना मानिन्छ, त्यसैले यसको नामै रहेको छ, ‘क्याथी फ्रिमन मोमेन्ट’ ।
यो दौडबाट प्रेरित भएर धेरैभन्दा धेरै अस्ट्रेलियाली महिलाले खेललाई आफ्नो करिअर बनाए । त्यसमध्ये एक हुन्, यिनै केर । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा केरले ६३ औं मिनेटमा २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै अपूर्व गोल गरिन् । यस गोललाई महिला फुटबलकै अहिलेसम्मको सबैभन्दा राम्रो गोल मान्न सुरु भएको छ । अनि यसलाई नै केरको आफ्नै ‘क्याथी फ्रिमन मोमेन्ट’ भन्न पनि सुरु गरेकी छन् ।
भनेपछि यो एक यस्तो गोल हो, जसबाट प्रेरित
भएर धेरैभन्दा धेरै अस्ट्रेलियाली किशोरीले अब फुटबललाई आफ्नो करियर बनाउने छन् । धेरैका लागि यो प्रेरणा हुन सक्नेछ । खासमा यो एक यस्तो गोल हो, जसले केर कस्ती खेलाडी हुन् भने मज्जाले वर्णन गर्छ । केरबारे व्यक्तिगत कुरा गर्ने हो भने पनि उनी खुलेर एलजीबीटीक्यू प्लस भएको मान्छिन् र फुटबलकी अर्की खेलाडी क्रिस्टी मेविससँग सम्बन्धमा छिन् । अनि के पनि भनिन्छ भने केर एलजीबीटीक्यू प्लस समुदायकी सबैभन्दा ठूला स्टार पनि हुन् ।

खेलाडी नै खेलाडीको परिवार
नसा–नसामा खेलकुद । पूरा परिवार नै खेलमय भयो भने यस्तो पनि भनिन्छ । केरको परिवार ठ्याक्कै यस्तै हो, खेलाडी नै खेलाडीले भरिएको परिवार । उनको बाजे डेनजिलको जन्म भारतको कोलकातामा भएको
थियो, इंग्लिस बुबाका तर्फबाट । उनी फेडरवेट तौल समूहमा भिड्ने बक्सर थिए । उनका बज्यै क्यारल पनि आफ्नो समयमा बास्केटबल खेल्थिन्, कोलकातातिरै । उनीहरू सौखिन खेलाडी मात्र थिएनन्, पूरा प्रतिस्पर्धात्मक खेलमै उत्रन्थे ।
बुबा रोजर र दाजु ड्यानिएल त पक्कापक्की व्यावसायिक खेलाडी नै हुन्, अस्ट्रेलियाली नियममा खेलिने फुटबलको । ड्यानिएल त खेलाडीका रूपमा अत्यधिक सफल पनि रहे । आमा रोक्सानका बुबा र त्यतातर्फका धेरै नातेदार कुनै न कुनै रूपमा खेलकुदमै आबद्ध थिए । त्यसमध्ये एक नातेदार रहेका जे जे मिलर त उत्तिकै नाम चलेका रेसिङ ड्राइभर थिए । भनेपछि केरलाई खेलकुद विधा कुनै नयाँ थिएन, यसमा आबद्ध हुन् । खालि प्रश्न थियो त, खेल्ने खेल कुन त ?
केरलाई सानोमा साँच्चै मन परेको खेल भने त्यही अस्ट्रेलियाली नियममा खेलिने फुटबल नै थियो । अस्ट्रेलियामा यो खेल कति धेरै लोकप्रिय थियो भने यसको अगाडि केरले अहिले खेलिरहेको फुटबल ओझेलमा पर्ने गर्थ्यो । केरका लागि त्यो अस्ट्रेलियाली नियमको फुटबलका नाम चलेका खेलाडी सिनेमाका नायक जस्तै लाग्थे । सुरुमा केरलाई लागेको यो नै यस्तो खेल हो, जसमा उनको भविष्य हो । तर उनको भाग्यमा त अर्को फुटबल पो लेखिएको थियो । केर फुटबलमा लागेपछि हदै जिद्दी पाराले लागिन् । यो पनि कतिसम्म भने केटी भएर खेल्न नपाइएला भनेर केटा बनेर फुटबल खेलिन्, त्यो पनि एक–दुई वर्ष होइन, ५/६ वर्ष जति नै । त्यसका लागि केरले केटाहरूको उमेर समूहमा खेल्न आफूलाई केटा जस्तै शैली र स्वभावमा ढालिन् । यसका लागि कपाल पनि छोटो–छोटो हुने गरेर काटिन् । त्यति बेला उनको क्लब थियो, पर्थको दक्षिणमा रहेको इस्ट फ्रेमनटाइल । कसैलाई केही थाहा हुन दिइनन् र भएन पनि ।
अझ रमाइलो के भने त्यसका लागि उनका बुबा र प्रशिक्षकको भने सहमति थियो । पछि बुबा र प्रशिक्षकले नै निर्णय गरे, अब केटा होइन, केटी भएर नै खेल्ने । केरको आत्मकथा हो, ‘माई जर्नी टु वर्ल्डकप’ । यसमा उनले आफू केटा भएर खेलेको पूरा विवरण लेखेकी छन् । त्यसको एउटा सार हो, केरलाई लागेको थियो, उनलाई केटी हो भनेर कसैले विशेष अलग्गै व्यवहार नगरोस् । पछि उनी केटी हुन् भनेर थाहा पाएपछि एउटा साथी केटा खेलाडी खुबै रोएका पनि थिए ।

सानैमा डेब्यु
केटीकै भेषमा खेल्न थालेको तीन वर्षमै केरले अस्ट्रेलियाका लागि डेब्युको अवसर पाइन् । अविश्वसनीय रह्यो, उनको सुरुआती खेल जीवन । उनी भर्खर १५ कै मात्र थिइन्, इटालीविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा उनले पहिलोपल्ट अस्ट्रेलियाका लागि खेल्न पाइन् । महिला फुटबलको एउटा ठूलो विशेषता के हो भने अधिकांश ठूला स्टार खेलाडीले २० वर्षको उमेरपछि मात्र अन्तर्राष्ट्रिय खेल्न पाए । तथ्यांकले यस्तै भन्छ, तर केर यसमा पनि अपवाद रहिन् ।
त्यति बेला अस्ट्रेलियाली टिमका प्रशिक्षक रहेका टम सेरमानीले भनेका थिए, ‘केर भर्खरकी खेलाडी थिइन्, अनुभव खासै केही थिएन तर उनको प्रदर्शन भने उच्च थियो । त्यही बेला उनले प्रमाणित गरिसकेकी थिइन्, केर महिला फुटबलकै सबैभन्दा राम्रो खेलाडी हुन्छिन् भनेर ।’ फिफाले केरको जीवनीबारे एउटा लेख पनि तयार पारेको छ, त्यसमा केही रोमाञ्चित पार्ने खालका तथ्यांक छन् । त्यसअनुसार जति बेला केरले पहिलोपल्ट देखिन्, त्यति बेला आई–प्याड भन्ने नै थिएन ।
ह्वाट्स एप भर्खर भर्खर बजारमा आउने क्रममा थियो । बियोन्से र लेडी गागा लोकप्रिय हुने बाटोमा थिए । बार्सिलोनाको महिला टिमले त्यहाँको माथिल्लो डिभिजन जितेकै थिएन । अनि त्योभन्दा पनि रमाइलो त के भने जति बेला केरले डेब्यु गरिन्, क्रिस्टियानो रोनाल्डोले फिफाको एउटै मात्र उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए, लियोनल मेसीले त त्यति पनि जितेका थिएनन् । अनि केरले डेब्यु गरेकै वर्ष ‘स्लमडग मिलिनियर’ ले ओस्कारमा आठ अवार्ड जितेको थियो ।

युवा ग्यालरी

ह्विलचियरमै नृत्य

- ज्योति श्रेष्ठ

(काभ्रे)
‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो
हिमाल चुली वनतिर पानी भर्ने पँधेरो’
पृष्ठभूमिमा गीत बजिरहेको थियो । छातीभन्दा तलको
भाग नचल्ने बनेपा–६ का २९ वर्षीय सुदीप श्रेष्ठ ह्विलचियरमै बसेर नाचिरहेका थिए । प्रस्तुति हेर्दा उनमा शारीरिक रूपमा अपाङ्गता छ भन्ने लाग्दैनथ्यो । उभिएर नाच्न नसके पनि उनको प्रस्तुति मन नपराउने कोही थिएनन् । नृत्य नै संसार, नृत्य नै जीवन अनि नृत्य नै सबथोक । पाँच वर्षअघिसम्म सुदीपलाई यही लाग्थ्यो । बाल्यकालदेखि नै नृत्यमै रम्दै आएका सुदीपले यसैमा आफ्नो भविष्य देखेका थिए ।
४ कक्षामा पढ्दै गर्दा नृत्य यात्रा थालेका उनले जीवनमा धेरै ठूला अवरोह पार गरेका छन् । मामा नृत्य प्रशिक्षक भएकाले पनि उनमा नृत्यतर्फ रुचि बढ्दै गयो, हौसला थपिँदै गयो । नृत्य सिक्दै गएपछि उनले आफ्नो प्रस्तुतिलाई निर्खान थाले । जसको परिणामस्वरूप उनी नृत्य प्रशिक्षक भए । एसएलसीपछि आफू पढेकै स्कुलमा (क्षितिज बोर्डिङ स्कुल) नृत्य सिकाउन थाले । त्यसपछि बनेपाको ज्योति एकेडेमी, ज्ञान सरोवर स्कुल, सिद्धार्थ स्कुल, बागमी स्कुल, रामभक्त स्कुल, धुलिखेलको माउन्ट भ्युलगायतमा नृत्य प्रशिक्षकका रूपमा काम गरे । नृत्यबाहेक इभेन्ट म्यानेजमेन्टको काम पनि गर्न थालेका थिए ।
जिन्दगी रफ्तारमा चलिरहेकै थियो । २०७५ वैशाख ७ गते उनको जीवनमा वज्रपात आइलाग्यो । डान्स ड्रेस लिन काठमाडौंको कलंकी जाने क्रममा सबेरै जडीबुटीमा उनी चढेको मोटरसाइकल दुर्घटनामा पर्‍यो । प्रहरीको सहयोगमा उपचारका लागि बानेश्वरको सिभिल हस्पिटल पुर्‍याइयो उनलाई । डाक्टर नभएको भन्दै त्यहाँबाट केएमसी पुर्‍याइयो । त्यहाँबाट ट्रमा हुँदै ब्लु क्रस हस्पिटल लगियो । दुई घण्टाको अपरेसनपछि डाक्टरले भने, ‘नसामा समस्या देखिएको भन्दै छातीभन्दा तलको भागले अब काम गर्दैन ।’ त्यो सुनेर उनी छाँगाबाट खसेझैं भए । तर, पनि आफू ठीक हुन्छु भन्ने आत्मबल जीवितै थियो ।
आफ्नो खुट्टा पहिलेको जस्तै बनाउन विभिन्न कोसिस गरे । तर सबै मिहिनेत खेर गयो । अब भने नयाँ जीवनको सुरुवात गर्ने अठोट लिए र सुरु गरे ह्विलचियर यात्रा । यस अवधिमा उनलाई माइजू अरुणा महर्जनले निकै साथ दिइन् । अहिले पनि अप्ठ्यारोमा माइजूले नै साथ दिइरहेको बताउँछन् सुदीप । शारीरिक रूपमा अपाङ्गता भए पनि उनमा नाच्ने हुटहुटी भने पहिलाको जस्तै छ । अस्पतालको शय्यामा हुँदा पनि डाक्टर र नर्सले उनलाई नाच्न प्रेरित गर्थे ।
‘नृत्य प्रशिक्षक भएको थाहा पाएर पनि हुन सक्छ, मलाई डाक्टर र नर्सले निकै हौसला प्रदान गर्नुभयो,’ उनले भने, ‘मैले नाचेको देखेर उहाँहरू निकै खुसी हुनुहुन्थ्यो ।’ चिकित्सकको सल्लाहअनुसार नै ह्विलचियरको सहायताले आफूभित्रको कला उजागर गरिरहेका छन् सुदीपले । जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने गर्छन् । कतिपय विद्यार्थी त सिक्नका लागि घरमै पनि आउँछन् । समय मिलेको बेला त अझ बनेपा–१३ स्थित स्पाइनल इन्जुरी एवं पुनःस्थापना केन्द्र पुगेर नृत्य पनि सिकाउँछन् उनी । ‘आफ्नो शरीरले सक्ने खालको अभ्यास गर्दा मनोरञ्जन पनि हुने, समयको पनि सदुपयोग हुने र दिन पनि कट्ने रहेछ,’ उनले भने, ‘आफूले जानेको कुरा सिकाउन पाउँदा पनि खुसी लाग्छ, अपाङ्गता भएकाका लागि यो प्रयासले प्रेरणा मिल्छ ।’
नृत्यसँगै उनले इभेन्ट म्यानेजमेन्टको कामलाई पनि निरन्तरता दिएका छन् । घरमै डान्स ड्रेस हाउस र फलफूल तथा तरकारी पसल पनि सञ्चालन गर्दै छन् । अपाङ्गता भएका व्यक्तिले साधारण व्यक्तिसरह नै काम गर्न सक्छन् भन्ने एक उदाहरणीय पात्र बनेका छन्, सुदीप । ‘अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैन भनेर अवसर नै दिइँदैन,’ उनले भने, ‘क्षमताले भ्याउने खालका काममा लगाउन सकिन्छ नि ।’

Page 5
समाचार

नेपाल–चीन सैन्य अभ्यास अनिश्चित

- जगदीश्वर पाण्डे

(काठमाडौं)
कोभिड–१९ का बेला रोकिएको नेपाल–चीन सैन्य अभ्यास फेरि सुरु हुन सकेको छैन । नेपाल–भारत र नेपाल–अमेरिका सैन्य अभ्यास सुरु भएको एक वर्ष बितिसक्दासमेत चीनसँग ०७४ देखि हुँदै आएको ‘सगरमाथा मित्रता’ संयुक्त सैन्य अभ्यास भने सञ्चालन हुन नसकेको हो ।
दोस्रो संस्करणको नेपाल–चीन सैनिक अभ्यास छेन्दुमा भए पनि कोभिड–१९ का कारण रोकिएको तेस्रो संस्करणको अभ्यास हुन सकेको छैन । नेपाली सेनाले कोभिड–१९ को खोप उपलब्ध भएपछि र दोस्रो लहर सकिएपछि भारत, अमेरिका र चीनसँग सैन्य अभ्यास गर्नका लागि पत्राचार गरेको थियो । त्यसपछि भारत र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरिसके पनि चीनले लामो समयसम्म पत्रको जवाफ पठाएको छैन ।
सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपाल–चीन सैन्य अभ्यास फेरि गर्ने विषयमा टुंगो लागिनसकेको जानकारी दिए । ‘कोभिड–१९ पछि भारत र अमेरिकासँग सैन्य अभ्यास भइसकेको छ तर चीनबाट कुनै सन्देश प्राप्त भएको छैन, कहिले सुरु हुन्छ भन्न सकिन्न,’ उनले कान्तिपुरसँग भने, ‘पढाइ, तालिमलगायत अन्य विषय फेरि सुरु भइसकेको छ तर संयुक्त सैन्य अभ्यासबारे टुंगो लागेको छैन ।’
चिनियाँ जनमुक्ति सेना (पीएलए) अन्तर्गत तिब्बती मिलिटरी कमान्डका मेजर जनरल लुई एन्डेले गत बुधबार नेपाल भ्रमण गरेका थिए । उक्त टोली आइतबार फर्कियो । भ्रमणका दौरान लुईले प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भेटेका थिए । त्यस अवसरमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको भण्डारीले बताए । आठ सदस्यीय सीमा सुरक्षा प्रतिनिधि टोलीको नेतृत्व गर्दै आएका मेजर जनरल लुईले सीमा मामिलाको विषयमा कुराकानी गरेका थिए तर संयुक्त सैनिक अभ्यासलगायत मामिला बेइजिङको रहेकाले उनले त्यसबारे केही बोलेनन् ।
साउन १४ मा पीएलए स्थापनाको ९६ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा नेपालस्थित चिनियाँ दूतावासले कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रधानसेनापति शर्मा पनि सहभागी थिए । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रधानसेनापति शर्माले आ–आफ्नो सम्बोधनका क्रममा दुई मुलुकबीचको सैनिक सम्बन्ध तथा संयुक्त अभ्यासबारे चर्चा गर्दै सैनिक सम्बन्धलाई जोड दिने बताएका थिए । तर सैनिक अभ्यास हुन
सकेको छैन ।
नेपालले सन् २०१७ मा चिनियाँ जनमुक्ति सेनासँग नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास थालेको थियो । त्यसको पहिलो संस्करण नेपालमा भयो भने दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भएको थियो ।
नेपाली सेनाले भारतीय, अमेरिकी र चिनियाँ सेनासँग विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्योपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयमा सैन्य अभ्यास गर्दै आइरहेको छ । सेनाहरूबीच संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानबारे व्यावहारिक रूपमा अभ्यास हुने गर्छ । संयुक्त अभ्यासमा नेपाली सेना र अन्य मुलुकका सेनाबीच सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान गरिरहेको सेनाले जनाएको छ ।
अमेरिकी सेनाको विशेष फोर्स र नेपाली सेनाको महावीर बटालियनबीच सन् २०१५ को सेप्टेम्बरदेखि ‘ब्यालेन्स नेल’ नाममा संयुक्त अभ्यास सुरु भएको हो । सेनाका अनुसार ब्यालेन्स नेलको संयुक्त अभ्यास शृंखलामा भ्रमण आदानप्रदान र प्रशिक्षण कार्यक्रमहरू भने सन् १९९० पछि नै हुन थालेको हो । नेपाली सेनाले सन् २०११ देखि भारतसँग ‘सूर्य किरण’ नाम संयुक्त अभ्यास गर्दै आइरहेको छ भने अमेरिकासँग विपद् व्यवस्थापनको क्षेत्रमा संयुक्त अभ्यास गर्दै आएको छ ।
नेपाल–चीन संयुक्त सैनिक अभ्यासलाई राष्ट्रको वैदेशिक नीति र सुरक्षा सम्बन्धको आधारमा अघि बढाइन्छ । २०६२/६३ पछि नेपाली सुरक्षा निकायसँग चिनियाँ सैनिकको सम्बन्ध विस्तार भएको हो । त्यसयता चीनले सशस्त्र प्रहरी
बलको पाँचखालमा निर्माणाधीन तालिम केन्द्रलाई सहयोग गर्नुका साथै सेनालाई पनि सहयोग गर्दै आइरहेको छ ।

समाचार

नवजात शिशु बेपत्ता पारेको आरोपमा दुई पक्राउ

- विनोद भण्डारी

(विराटनगर)
अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै हराएपछि प्रसूतिमा संलग्न चिकित्सक र प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगरका स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण र शिशुका ‘अविवाहित बुबा’ भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई छन् । आफ्नो प्रेमी र चिकित्सक कर्णले मिलेर शिशु गायब गरेको पीडित २६ वर्षीयाले उजुरी दिएपछि प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार सामान्य अवस्थामा जन्मिएकी शिशुको अवस्था अज्ञात छ । प्रहरी नियन्त्रणमा रहेका चिकित्सक कर्णले अनुसन्धानमा असहयोग गरेका कारण बच्चाको अवस्था प्रस्ट हुन नसकेको दाहालको भनाइ छ । गोविन्दले प्रेमिकालाई असार १३ मा विराटनगर ल्याएका थिए । उनले सुरुमा ग्रिनक्रस अस्पतालनजिकै रहेको डा. कर्णको दिपेश मेडिकल क्लिनिकमा देखाएका थिए । क्लिनिकमा सुरुवाती परीक्षण गरेर कर्णले ती युवतीलाई ग्रिनक्रस अस्पतालमा भर्ना गरेका थिए । असार १४ मा सामान्य अवस्थामा छोरी जन्माएकी युवतीलाई उनले त्यसै दिन डिस्चार्ज गरिदिए तर शिशु दिएनन् । युवतीले शिशु खोइ भन्दा गोविन्दले अस्पतालमै उपचार भइरहेको बताएका थिए ।
डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्वमेडिकल सुपरिन्टेन्डेन्ट हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका छन् । क्लिनिकमा आएकालाई भर्ना गर्नुपर्दा उनी ग्रिनक्रस अस्पताल लैजान्छन् । उनको क्लिनिकदेखि ग्रिनक्रस ५० मिटर पश्चिममा छ । उनले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएको र जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि लिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार युवतीको वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ ।
अस्पतालले डिस्चार्ज दिएपछि गोविन्द प्रेमिकालाई लिएर इटहरी गए । गोविन्दले प्रेमिकालाई टेम्पोमा राखेर शिशुबिनै इटहरी पुर्‍याएर बसपार्क छेउको होटलमा कोठा लिई राखे । दुई दिनपछि असार १६ मा गोविन्द काम छ भन्दै होटलबाट हिँडेका थिए । ‘त्यसपछि फर्किएर आउनु भएन,’ पीडितले भनिन् ।
होटलमा अलपत्र भएपछि युवती सुनसरीको सोनापुर आएर बसिन् । गोविन्दले छाडेर गएको खर्च सकिएकाले आठ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको ती युवतीको भनाइ छ । ‘छोरी जन्मिएको नर्सहरूले आफूलाई सुनाएका थिए तर डिस्चार्ज गर्दा बच्चा दिएनन्,’ उनले प्रहरीसमक्ष भनिन् । बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको उनको भनाइ छ । उनले साउन ३२ मा किटानी उजुरी दिएपछि घटना बाहिरिएको हो ।
उजुरी परेपछि प्रेमी गोविन्द प्रहरीको सम्पर्कमा आए । उनीसँगको सोधपुछपछि प्रहरीले डा. कर्णलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै डा. कर्ण कोशी अस्पताल भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ । ‘अस्पतालमा भएका कारण कर्णसँग सोधपुछ र घटनाका बारेमा सबै कुरा बुझ्न पाइएकै छैन,’ डीएसपी दाहालले भने ।
दाहालका अनुसार डा. कर्णले ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन् तर पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताएका छन् । गोविन्दले अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई मात्रै लिएर इटहरी गएको बताएका छन् । दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आएको भनेका थिए । ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी व्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’
प्रहरीका अनुसार बच्चा कहाँ पुर्‍याइयो भन्ने खुल्न सकेको छैन । चिकित्सक र गोविन्दलाई सँगै राखेर सोधपुछ गर्न नपाउँदा बच्चाको अवस्थाका बारेमा जानकारी हुन नपाएको डीएसपी दाहालको भनाइ छ । उनका अनुसार गोविन्द हिरासतमा र डा. कर्ण अस्पतालको बेडमा रहेकाले दुवैलाई एकै ठाउँमा राखेर सोधपुछ गर्न पाइएको छैन । यसबारे गम्भीर अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ ।

समाचार

विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर

- सुदीप कैनी

(काठमाडौं)
विश्वविद्यालयपिच्छे स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहको भर्ना, परीक्षा, नतिजा सार्वजनिकलगायत शैक्षिक कार्यक्रम फरक/फरक भएर उच्च शिक्षामा भद्रगोल र मनोमानी बढेपछि विश्वविद्यालय अनुदान आयोगले एकीकृत शैक्षिक क्यालेन्डर लागू गरेको छ । विश्वविद्यालयले विद्यार्थी भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाइ गरे आयोगले अनुदान कटौती गर्न सक्नेछ । आयोगले भदौ पहिलो सातादेखि क्यालेन्डर लागू गरेको हो ।
साउन अन्तिम साता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक थियो । त्यसयता विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना आह्वान थालेका छन् । आयोगले क्यालेन्डरमा तोकिएअनुसार भर्ना, पठनपाठन, परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायतका काम गर्न विश्वविद्यालयहरूलाई सर्कुलर गरेको छ । आयोगका अध्यक्ष देवराज घिमिरेले भदौ १ देखि नै विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागू गरिएको जनाए । आयोगले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर तयारी समितिको प्रतिवेदनसमेत विश्वविद्यालयहरूमा पठाएको छ । ‘क्यालेन्डर आयोगको पूर्ण बैठकले पास गरिसक्यो, केही दिनमा सार्वजनिक हुन्छ,’ उनले भने, ‘विश्वविद्यालयहरूले त्यसैअनुसार आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्छ ।’
आयोग अध्यक्ष अधिकारीले क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अनुगमनसमेत गर्ने जनाए । ‘तोकेको समयअनुसार भर्ना, परीक्षा र नतिजा प्रकाशनको काम नभए आयोगले विश्वविद्यालयलाई दिने अनुदान रोक्न सकिने व्यवस्था छ,’ उनले भने । प्रतिवेदनमा शैक्षिक क्यालेन्डरको अनुगमन, मूल्यांकन कार्य गर्न आयोगले विश्वविद्यालय तथा प्रतिष्ठानका पूर्वउपकुलपतिहरू संलग्न रहेको उच्चस्तरीय समिति गठन गर्ने उल्लेख छ । ‘उच्चस्तरीय समितिले अनुगमन गरी पेस गरेको प्रतिवेदनलाई आयोगले विश्वविद्यालयका लागि प्रदान गरिने कार्यसम्पादन अनुदानको गणना तथा निकासा प्रक्रियाको सूचकको रूपमा प्रयोग गर्ने तथा आफ्नो रायसहित शिक्षा मन्त्रालयमार्फत विश्वविद्यालयका सहकुलपति (शिक्षामन्त्री) र कुलपति (प्रधानमन्त्री) समक्ष पेस गर्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।
उच्च शिक्षामा एकीकृत क्यालेन्डर लागू गर्न अध्यक्ष अधिकारीकै संयोजकत्वमा सुझाव कार्यदल गठन भएको थियो । कार्यदलको सिफारिसका आधारमा क्यालेन्डर तयार पारिएको हो । आयोगले जारी गरेको क्यालेन्डरमा परीक्षा सकिएको ६० दिनभित्र विद्यार्थीको नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । क्यालेन्डर वार्षिक र सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुने सबै विश्वविद्यालय र उच्च शिक्षण संस्थामा लागू हुने जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहमा छुट्टै क्यालेन्डर लागू गरिसकेको छ । कक्षा १२ को नतिजा साउन मसान्तसम्म प्रकाशन भएपछि क्याम्पसहरूले असोजभित्र विद्यार्थीको प्रवेश परीक्षा र भर्ना सक्नुपर्ने उल्लेख छ । यस्तै कात्तिकमा विद्यार्थीको रजिस्ट्रेसन दर्ता गराएर मंसिर पहिलो सातादेखि पठनपाठन थाल्नुपर्नेछ । एकीकृत क्यालेन्डरका आधारमा विश्वविद्यालयले आफ्नै क्यालेन्डर पनि लागू गर्न सक्ने आयोगले जनाएको छ । भर्नामा भिन्नभिन्न प्रकृतिको प्रवेश परीक्षा सञ्चालन हुने मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा प्रविधिका संकायको क्यालेन्डरमा भने शैक्षिक कार्यक्रमको समय तालिकामा केही तलमाथि हुन सक्ने व्यवस्था गरिएको छ ।
सेमेस्टर प्रणालीको कक्षा अन्त्य फागुनसम्म गरेर चैतमा अन्तिम परीक्षा सञ्चालन गर्नुपर्ने राष्ट्रिय क्यालेन्डरमा उल्लेख छ । वार्षिक प्रणालीमा तोकिएको समयावधि नबढ्ने गरी विश्वविद्यालयले आन्तरिक क्यालेन्डर लागू गर्न सक्नेछन् । वार्षिक प्रणालीका हकमा भने ढिलोमा मंसिर १ मा पठनपाठन थालेर भदौसम्म कोर्स पूरा गरी असोज १५ भित्र परीक्षा सक्नुपर्ने समय तोकिएको छ ।

यस प्रणालीमा पनि नतिजा दुई
महिनाभित्रै सार्वजनिक हुनुपर्नेछ । विश्वविद्यालयलगायत उच्च शिक्षा दिने शिक्षण संस्थामा शैक्षिक कार्यक्रम व्यवस्थित नहुँदा ४ वर्षमा पूरा हुने तह सक्न ६ वर्षसम्म लाग्ने गरेको विद्यार्थीले गुनासो गर्दै आएका छन् ।
विश्वविद्यालयले कक्षा १२ को नतिजाअघि नै विद्यार्थी भर्ना गराउने, फागुन/चैतसम्म पनि विद्यार्थी भर्ना गरिराख्ने, पढाइ सकिएको महिनौं बितिसक्दा पनि परीक्षा सञ्चालन नगर्ने गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयमा परीक्षा सकिएको १८ महिनापछि मात्रै स्नातक तहको नतिजा सार्वजनिक गरिएको थियो । त्यस्तै पढाइ सकिएपछि परीक्षामा सहभागी हुन विद्यार्थीले एक वर्षसम्म कुर्नुपर्ने समस्या विभिन्न संकायमा दोहोरिएको पाइएको थियो । विश्वविद्यालयहरूले भने कोभिड महामारीको प्रभावका कारण पछिल्ला वर्ष तोकिएको समयमा भर्ना, परीक्षा र नतिजा प्रकाशन गर्न नसकिएको जनाउँदै आएका छन् । कोभिड महामारीपछि बिग्रिएको समय तालिकालाई व्यवस्थित गर्न पनि क्यालेन्डर अनिवार्य रहेको विश्वविद्यालयका पदाधिकारीहरूको भनाइ छ ।
आयोगका अध्यक्ष अधिकारीले उच्च शिक्षाको विश्वसनीयता गुम्दै गएकाले शैक्षिक क्यालेन्डर जरुरी रहेको बताए । देशभर १३ संघीय विश्वविद्यालय, तिनले सम्बन्धन दिएका एक हजार ५ सय ५० क्याम्पस, प्रादेशिक विश्वविद्यालय र ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी करिब १५ सय उच्च शिक्षा प्रदायक शिक्षण संस्था सञ्चालनमा छन् । जहाँ ५ लाखभन्दा बढी विद्यार्थी पढ्छन् ।

समाचार

जनमतका ४ प्रदेश सांसद ‘फिर्ता बोलाउने’ सूचीमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जनमत पार्टीका महासचिव तथा मधेश प्रदेशका मन्त्री चन्दन सिंहसहित प्रदेशसभाका चार सांसद फिर्ता बोलाइने सूचीमा परेका छन् । ‘राइट टु रि–कल (प्रत्याह्वान अधिकार)’ लाई राजनीतिक मुद्दा बनाउँदै आएको जनमतले पार्टी सदस्यहरूबीच मतदान गराएर ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
५० प्रतिशतभन्दा कम मत प्राप्त गर्नेमा पार्टी महासचिव सिंह, सिरहा ४ (१) का त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी र महोत्तरी ३ (२) का अनिताकुमारी साह परेका छन् । जनमत पार्टी निर्वाचित पदाधिकारीको कार्यसम्पादन राम्रो नभए बीचमै फिर्ता बोलाउने व्यवस्था ‘राइट टु रि–कल’ को पक्षमा छ ।
पार्टीले सांसदहरूको निर्वाचन क्षेत्रका कार्यकर्तामाझ शनिबार मतदान गराएको थियो । गत मंसिरमा आमनिर्वाचनमा पहिलो पटक भाग लिएको जनमतका प्रत्यक्ष र समानुपातिक गरी मधेश प्रदेशमा १३ र लुम्बिनीमा ३ गरी १६ सांसद छन् । ‘जनप्रतिनिधि निर्वाचित भएको क्षेत्रका सबै मतदातालाई सहभागी गराएर यस्तो गर्नुपर्ने हो तर नेपालमा नयाँ अभ्यास भएका कारण आममतदातामा भन्दा पार्टीका कार्यकर्तामाझ राइट टु रि–कलको अभ्यास गरेका हौं,’ जनमतका राष्ट्रिय सचिव बीपी साहले भने, ‘मतदानमा जसको मत ५० प्रतिशतभन्दा कम आएको छ, उहाँहरूमाथि पार्टीले छानबिन प्रक्रिया अघि बढाउँछ ।’
जनमतले गराएको मतदानमा मधेश प्रदेशमा सांसदले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रमा पार्टीबाट निर्वाचित वडाध्यक्ष, वडाध्यक्षका प्रत्याशी, गाउँपालिकाका पदाधिकारी, पालिकाका प्रत्याशी, जिल्ला परिषद्का सदस्यहरू, प्रदेश कमिटीका सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद्‍का सदस्य मतदाता थिए । महासचिव सिंहले खसेको ४६ मतमध्ये १४ मत मात्रै प्राप्त गरे । उनको विपक्षमा २८ मत खस्यो । त्यसैगरी सोही क्षेत्रकी अनिताकुमार साहको विपक्षमा २३ र पक्षमा १४ मत पर्‍यो । १ सय १ मत खसेकामा प्रदेश सांसद त्रिभुवन साह र भाग्यश्री चौधरीको विपक्षमा ७९–७९ मत पर्‍यो भने पक्षमा क्रमशः २० र २१ मत परेको छ । ‘प्रत्यक्ष र समानुपातिक दुवैलाई यो नियम लागू हुन्छ, पार्टीले निर्णय गरेपछि फिर्ता हुनुपर्छ, पार्टीको सिद्धान्तलाई जनताले भोट दिएको हो, जो–जो छानबिनमा पर्नुहुन्छ, त्यसबाट पनि नेगेटिभ आयो भने फिर्ता बोलाउने निर्णय पार्टीले गर्छ,’ साहले भने । स्थानीय तहमा निर्वाचितहरूको विषयमा पनि यस्तै मतदान गरिएको थियो । ‘वडा तहको हुँदा पार्टीका सबै सदस्यलाई मतदानमा सहभागी गराएका थियौं,’ साहले भने ।

Page 6
सम्पादकीय

संक्रमणकालीन न्यायमा चिर उपेक्षा

संक्रमणकालीन न्याय निरूपणप्रति सरकार र राजनीतिक दलहरूले देखाएको बेवास्ता उदेकलाग्दो छ । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुनै लाग्दा सरकार र राजनीतिक दलहरू न्याय निरूपण प्रक्रिया सम्बन्धी कानुनी प्रबन्ध गर्ने विषयमै अल्झेका छन् । ढिला गरी २०७१ सालमा गठन भएका बेपत्ता छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले पटक–पटक म्याद थपिँदा पनि पीडितबाट उजुरी लिनेबाहेक काम गरेका छैनन् । अर्कातिर गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिने प्रपञ्च चालिएको भन्दै द्वन्द्वपीडितहरू संक्रमणकालीन न्याय निरूपण प्रक्रियाप्रति नै सशंकित छन्, पटक–पटक आन्दोलनमा उत्रिरहेका छन् ।
सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ मा हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार संक्रमणकालीन न्यायलाई निरूपण गर्न सरकारले सुरुदेखि नै प्राथमिकता दिएको पाइँदैन । पटक–पटक सत्तामा पुग्नुका साथै चार पटक सरकारको नेतृत्व गरेको सम्झौताको हस्ताक्षरकर्ता माओवादीले समेत यसमा सक्रिय पहलकदमी लिएको छैन । बरु ऊ गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नलाई उन्मुक्ति दिने अनुकूल वातावरणको पर्खाइमा देखिन्छ ।
शान्ति सम्झौतामा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिका बारेमा सत्य अन्वेषण गर्ने र समाजमा मेलमिलापको वातावरण तयार पार्ने तथा बेपत्ता छानबिन आयोगको प्रतिवेदन अनुसार पीडित परिवारलाई राहत उपलब्ध गराउने उल्लेख छ । तर सरकार र राजनीतिक दलको उदासीनताका कारण यी आयोग सम्बन्धी कानुन ढिला गरी २०७१ सालमा मात्र तयार भयो । त्यही कानुनमा पनि द्वन्द्वपीडितले आपत्ति जनाए र उनीहरू सर्वोच्च अदालत गए । सर्वोच्चले २०७१ फागुनमा गम्भीर अपराधमा क्षमादान दिन सक्ने प्रावधान नराख्न, मेलमिलाप गराउन सकिने सामान्य प्रकृतिका घटनामा पनि पीडितको सहमति लिन र पीडितका चासोलाई केन्द्रमा राख्न भन्दै ‘अन्तर्राष्ट्रिय मापदण्ड, संविधान र विस्तृत शान्ति सम्झौता तथा सर्वोच्च अदालतले विभिन्न मितिमा दिएका आदेशबमोजिम कानुन संशोधन गर्न’ आदेश दियो । सर्वोच्चको आदेश अनुसार कानुन संशोधन गर्न सरकार र राजनीतिक दलहरूले तत्परता नदेखाउँदा संक्रमणकालीन न्याय निरूपण प्रक्रिया लामो समयदेखि अवरुद्ध छ ।
सरकारले अघिल्लो प्रतिनिधिसभाको आखिरीतिर ऐन संशोधन गर्न विधेयक ल्याएको थियो तर कानुन, न्याय तथा मानव अधिकार समितिले टुंगो नलगाउँदै प्रतिनिधिसभाको कार्यकाल सकियो । द्वन्द्वकालीन विषयलाई लिएर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग सम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले गत फागुन १९ मा आदेश दिएलगत्तै सरकारले संशोधन विधेयक प्रतिनिधिसभामा लगेको थियो । तर पाँच महिना बित्दा पनि विधेयक प्रतिनिधिसभामै अल्झिरहेको छ । विधेयक कानुन, न्याय तथा मानव अधिकार समितिमा पुगेपछि दुई साताको म्याद दिएर गठन गरिएको उपसमितिले दुई महिना बित्दा पनि दफावार छलफल सकेको छैन । सभामुखको अकर्मण्यताका कारण संसदीय समिति सभापति चयन हुन नसक्दा पनि विधेयकमाथिको कामकारबाहीमा असर परिरहेको छ । विधेयकमाथिको कामकारबाही अगाडि बढाउन पनि जतिसक्दो छिटो संसदीय समिति सभापति चयन गर्न जरुरी छ ।
सत्ता गठबन्धनसँग बहुमत रहेका कारण विधेयक पारित गर्नकै लागि समस्या देखिँदैन तर अन्तर्वस्तुले विधेयकलाई पेचिलो बनाएको छ । सर्वोच्च अदालतको आदेश र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनविपरीत गम्भीर मानव अधिकार उल्लंघनका दोषीलाई आममाफी दिने प्रावधान विधेयकमा राखिएको भन्दै द्वन्द्वपीडितले आपत्ति जनाइरहेका छन् । विधेयक हुबहु पारित भइहाले द्वन्द्वपीडित फेरि अदालत जाने सम्भावना छ र त्यसबाट संक्रमणकालीन न्याय निरूपण प्रक्रिया थप लम्बिन सक्छ । पीडित पक्षको स्वीकार्यताबेगर न्याय निरूपण प्रक्रिया सार्थक निष्कर्षमा पुग्न सक्दैन । अहिले नै कानुन संशोधन गर्दैगर्दा सरकार र राजनीतिक दलहरूले विस्तृत शान्ति सम्झौताको प्रस्तावनामा लेखिएको ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताप्रति प्रतिबद्ध रहँदै’ भन्ने वाक्यांश भुल्नु हुँदैन ।
संक्रमणकालीन न्याय निरूपण नभएकै कारण शान्ति प्रक्रिया अहिलेसम्म अधुरै छ । यसमा ढिलाइ हुँदै जाँदा पीडितमा निराशा चुलिँदै गएको छ । उनीहरूलाई वर्षौंसम्म अल्झाइरहनु थप अन्याय गर्नु हो । कानुन संशोधन जतिसक्दो छिटो सकेर सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगको कामकारबाहीलाई तीव्र रूपमा अघि बढाउनुपर्छ । तत्कालीन द्वन्द्वरत पक्ष माओवादीलाई आफैंले सरकारको नेतृत्व गरेको बेला द्वन्द्वपीडितको विश्वास जित्दै न्याय निरूपण गरेर स्वीकार्यताको दायरा बढाउने अवसर छ । यसबाट सरकार र माओवादी दुवैको मानव अधिकारको प्रतिबद्धतासमेत परख हुने भएकाले कानुन संशोधनमा सर्वोच्च अदालतको आदेशलाई शिरोपर गर्न आवश्यक छ । द्वन्द्वकालीन घटना जोडिएको यस विषयलाई किनारा लगाउन अन्य दल पनि उत्तिकै संवेदनशील हुनुपर्छ ।

सम्पादकलाई चिठी

भ्रष्टाचार प्रकरणमा सरकारको नियतमाथि शंकैशंका


ललिता निवास, सुन, नक्कली शरणार्थी लगायतका काण्डैकाण्डसँग जोडिएका अनियमितताका विषयमा विगतको सरकारले भन्दा अहिले केही कठोर कदम चालेकै हो । तर समय बित्दै जाँदा सरकार आफैंले गरेको काम आफैंले माटामा मिलाउन थालेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवामा ठोक्किएपछि छानबिन प्रक्रिया नै रोकिएको छ । पछिल्लो सुन प्रकरणभन्दा अघिकै अर्को नौ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको नाम जोडिएसँगै अनुसन्धान रोकिएको छ । उनीहरूलाई सामान्य सोधपुछसमेत हुन सकेको छैन । यस सन्दर्भमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखलाई भेटेरै कुराकानी गरिसकेका छन् । ललिता निवासको जग्गा प्रकरण पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग जोडिएको छ । तर उनीहरूको नाम जोडिएपछि अनुसन्धानलाई छिटोछिटो टुंग्याएर मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु भएको छ । सायद उनीहरूलाई पनि अब सोधपुछसमेत गरिने छैन ।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिमा समानता देखिन्छ । उनीहरूले दोषी कसैलाई नछाड्ने बताए पनि बोली एकातिर व्यवहार अर्कोतिर हुँदै गएको छ । यी प्रकरणहरूमा सरकारले पक्कै केही गर्ने भयो भन्ने अपेक्षा नागरिकले गरेका बेला अहिले प्रहरी अधिकारीहरूको सरुवा गरेर झन् बदनामी कमाएको छ । यसले सरकारमाथि अविश्वास खडा गरेको छ । विभिन्न प्रकरणको छानबिन गरिरहेका बेला अवधि नै नपुगेका एआईजीको सरुवा गर्नुले सरकारको नियत सफा देखिएन । अब सरकारले यो भ्रष्टाचार लगायतका मुद्दामा लिने रणनीतिलाई शंका गर्ने ठाउँ बनेको छ । आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा प्रधानमन्त्री दाहालले मुलुकका लागि केही गरेर देखाउन चाहेको महसुस भएका बेला वास्तविकता अर्कै भएको आकलन हुन थालेको छ । उनको नेतृत्वको सरकारले समेत केही सकारात्मक काम गर्दै आइरहेको देखिएको थियो । तर यथार्थ त्यो नभएर अर्कै देखिन थालेको छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

सम्पादकलाई चिठी

'गठबन्धन टिकाउन अवधि नपुग्दै एआईजी सरुवा’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केहीटिप्पणी :

देउवा–ओलीका आफन्त जोगाउन र प्रचण्ड सरकार टिकाउन अवधि नपुग्दै एआईजी
सरुवा गरिए ।
– घनश्याम रेग्मी

रमिता देखाउँदै छ प्रचण्ड (गठबन्धन) सरकार । जे होस् २०८४ मा घण्टी पार्टीले धमाका मच्चाउने भयो । कांग्रेस र माओवादीको मत राम्रैसँग लैजाने भयो ।
– केशव आचार्य

‘यो बिस्तारै अनुसन्धान गर्नुपर्ने विषय नै रहेनछ । त्यसैले शून्यमा पुगेको घोषणा हुन सक्छ । अझै अनुसन्धानको नाममा आत्मसम्मानमा चोट पुगेकाले क्षतिपूर्तिस्वरूप आरोपितलाई विशेष राजनीतिक पदमा मनोनयन हुन सक्छ ।’
– गणेश श्रेष्ठ

नेपाल प्रहरीले राम्रो काम गरेको हो । त्यसको परिणाम गृहमन्त्री नारायणकाजीले ठूलो कुरा नगरेकै राम्रो । जनताका लागि राम्रो काम गर्ने प्रहरीलाई सरुवा गरेको घटनालाई जनताले मूल्यांकन गर्छन् । तर सुशासनको कुरा गर्न सुहाउँदैन । आरजुको दबाब थियो भने गृहमन्त्रीले सरुवा नगर्ने अडान लिन सक्नुपर्थ्यो । त्यसैले सुशासनको कुरा गरेर जनतालाई झुक्याउन पाइँदैन । शेरबहादुर, प्रचण्ड र केपी ओली नेतृत्वबाट नहटेसम्म मुलुकमा परिवर्तनको आशा नगरे हुन्छ ।
– पेशल थापा

फिल्म प्रदर्शन गर्नुभएकामा धन्यवाद दिन कन्जुस्याइँ नगरौं । अब तिमीहरूबाट सुशासनको आशा गर्नु हाम्रो मूर्खता मात्र हुनेछ ।
– टेकनाथ गुरागाई

अब नारायणकाजीले फुर्ती गर्न छोडे हुन्छ । तिम्रो कुरा अब कसैले पत्याउँदैन । अर्को कुरा यो सरकार सधैंका लागि बनेको पनि होइन । भोलि कुनै दिन बालेन शाहजस्तो बाघ गृहमन्त्री भए भने तिमी स्यालहरू जेलमा कोचिने दिन आउनेछ ।
– लक्ष्मण पौडेल

सबै निकाल्नुपर्छ । कता गए फाइल खोल्छु भन्ने सरकार ? फाइलमा सवैतिर आफ्नै जोडिएका रहेछन् । त्यसैले फाइल के खोल्नु, अब झुट बोल्न पनि छाड गृहमन्त्री र प्रधानमन्त्री ।
– भविन्द्र कोइराला

सम्पादकलाई चिठी

संसद् बन्द कसका लागि ?


देश विकास र जनताका दैनिक समस्याका विषयमा संसद्मा चर्चा हुने गरेको छैन । सांसदहरूमाथि हाजिर गरेर तलब खाने आरोप छ । गतिविधि हेर्दा पनि त्यस्तै देखिन्छ । देशमा उद्योगधन्दा खोल्ने विषय संसद्मा छलफलको प्राथमिकतामा पर्दैन । तर एमालेले संसद् अवरुद्ध कसका लागि गरेको हो प्रस्ट पार्नुपर्‍यो । जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिले किन यस्तो काम गरेका होलान् ? देश बनाउन निर्वाचित भएका सांसद आफ्नै स्वार्थमा लागेको देख्दा अचम्म लाग्छ ।
सरकार भनेको अभिभावक हो, उसले हरेक नागरिकको समस्या बुझ्नुपर्छ । सरकार संसद् खोल्नतर्फ किन सोच्दैन ? संसद् खुलाउन प्रभावकारी पहल किन गरिँदैन ? संसद् सधैं बन्द गर्न हो भने सांसद किन चाहियो ? निर्वाचन किन गर्नुपर्‍यो ? करोडौं खर्च गरेर निर्वाचन गरेको अर्थ के रह्यो ? आज मात्र होइन, हिजोदेखि नै संसद् बन्द गराउने खेल हुँदै आएको छ । प्रतिपक्षको आवाज नसुन्ने सरकार र अन्तिम विकल्प संसद् बन्द देख्ने प्रतिपक्षका कारण नागरिकका मुद्दालाई ओझेलमा पारिएको छ । सरकार र प्रतिपक्षको जुहारीमा संसद् एक महिनादेखि अवरुद्ध हुनु जनताका आवाज बन्द हुनु हो । सांसदले आफ्नो कर्तव्य नै नबुझेजस्तो देखियो । सरकारले संसद् खोल्न प्रयास गर्नुपर्छ । प्रतिपक्षको आवाज पनि सुन्नुपर्छ । प्रतिपक्षको आवाज नसुन्ने सरकारले जनताको समस्या बुझ्दैन । बहस गर्ने थलो संसद् सधैं अवरुद्ध गरेर तलब–भत्ताचाहिँ लिइरहन पक्कै मिल्दैन । हुन त राजनीतिक गर्ने धेरैलाई लाज भन्ने कुराको खासै मतलब हुँदैन । नत्र भने कामै नगरेको ज्याला कसरी लिनु ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

दृष्टिकोण

आमसञ्चारको भविष्य

- अच्युत वाग्ले

मूलधार सञ्चारको लोकप्रियताको उत्कर्षका दिनमा कान्तिपुर दैनिक सामान्यतः २४ पृष्ठ र हप्ताका एक दुई दिन ३२ पृष्ठसम्मको प्रकाशित हुन्थ्यो । कान्तिपुर प्रकाशनको व्यावसायिक सफलतापछि राष्ट्रिय स्तरकै छापा, रेडियो र टेलिभिजन समाचार उद्योगमा धेरै लगानीकर्ता ठूलै सपना बोकेर आए । खास गरी २०४६ सालको राजनीतिक परिवर्तनपछि, स्थानीय र क्षेत्रीय सञ्चारको विस्तार पनि उल्लेख्य भयो । तर, इन्टरनेट सञ्जालको द्रुत विस्तार हुने क्रमसँगै विकसित मुलुकहरूमा सन् २००३–४ देखि र नेपालमा सन् २०१०–११ देखि अनलाइन न्युज पोर्टल र न्यु मिडियाले परम्परागत आमसञ्चार (मास मिडिया) को हैसियतलाई क्रमशः खुम्च्याउँदै लगे । अचेल १६ पृष्ठको कान्तिपुर पत्रिका हात परेको दिन गह्रुँगै लाग्छ । अरू सञ्चारगृहको सफलता–असफलता र अस्तित्वरक्षाको लडाइँको अलग्गै कथा अवश्य छ, जुन यो आलेखको केन्द्रीय अभिप्राय होइन । यसका लागि छुट्टै राष्ट्रिय स्तरकै अध्ययनको आवश्यकता छ । यस्तै अलग्गै अध्ययन प्रविधि विस्तारले प्राज्ञिक क्षेत्रमा पारेको प्रभावमाथि पनि उत्तिकै अपरिहार्य छ ।
‘न्यु मिडिया’ र ‘नागरिक पत्रकारिता’ ले परम्परागत मिडियालाई पार्ने प्रभावका बारेमा सन् २००७ मा युनेस्कोले आफ्नो पेरिस मुख्यालयमा एउटा विश्वस्तरीय सम्मेलन आयोजना गरेको थियो । परम्परागत आमसञ्चार नहुँदा के हुन्छ भन्ने एउटा कार्यपत्रमाथि यो पंक्तिकार पनि टिप्पणीकार थियो । अहिले हेर्दा, त्यतिखेरको बहसको आयाम असाध्यै साँघुरो थियो । त्यो छलफल छापा र रेडियो तरंगहरूमार्फत भइरहेको सूचना र समाचारको सम्प्रेषणको भूमिका सम्पूर्णतः इन्टरनेट र अनलाइन पोर्टलहरूले हडपेपछि समाज, राजनीति र नागरिकहरूमा कस्तो प्रभाव, कसरी पर्छ भन्ने प्रश्नहरूमा केन्द्रित थियो । अथवा, त्यो बहस स्वयं आमसञ्चारको औचित्यमाथि नभएर समाचार पस्कने बदलिँदा माध्यमहरूको असरमाथि मात्रै थियो । यो स्वाभाविक पनि थियो । किनभने, सामाजिक सञ्जालको अहिलेको जस्तो व्यापक फैलावट, प्रभाव र भूमिकाको पर्याप्त आकलन त्यतिखेर गर्न सम्भव थिएन । आर्टिफिसियल इन्टेलिजेन्सको सम्भावित उपयोग र प्रभावबारे अहिले भइरहेको स्तरको चर्चाको कल्पना थिएन । वर्तमानमा, नागरिकले समाचार र सूचनाहरू उपभोग र प्रयोग गर्ने शैली र प्रवृत्ति फगत ‘मिडियम’ को संक्रमण वा रूपान्तरणको परिधिभन्दा धेरै फरक, फराकिलो र जोखिमयुक्त बन्दै गएको छ । ती पक्षहरूमाथि भइरहेका खोज–अनुसन्धानले उजागर गरेका तथ्य, विश्लेषण र पूर्वानुमानहरू, यदि भयावह नमान्ने हो भने पनि, गम्भीर छन् ।
विश्वको आमसञ्चार परिदृश्यमा आमसञ्चारको इतिहास, यहाँका सञ्चारगृहहरूको संस्थागत विकासक्रम, संख्या, गुणस्तर एवम् हैसियत र यसका ग्राहक वा प्रयोगकर्ताहरूको संख्या आदि सबै पक्ष तथ्यांकमा अभिव्यक्त हुँदा तुलनात्मक रूपले नेपाल असाध्यै नगण्य औसतको कोटिमा पर्छ । तथापि, सूचना प्रविधि र विद्युतीय सञ्चारमा आएका परिवर्तनहरूले यहाँको आमसञ्चार, सूचना उपभोगको नागरिक व्यवहार वा प्रवृत्तिलाई उत्तिकै निर्णायक तवरले प्रभावित पारिरहेका छन् । खास गरी विश्व आमसञ्चारको भविष्य वा नियति जे हुँदै छ, नेपाल पनि त्यसको अपवाद हुन असम्भव छ ।

विश्व परिदृश्य
भियनास्थित विश्वको सबैभन्दा पुरानो अखबार मानिएको ‘वेनर जेइटुङ’ ले प्रकाशनको ३२० वर्षपछि गत जुन महिनाको अन्तिम साता आफ्नो
दैनिक छापा संस्करण बन्द गर्‍यो । अस्ट्रिया सरकारको स्वामित्वमा रहेको यो पत्रिकाले आफ्नो आम्दानीमा अस्वाभाविक कमी आएका कारण प्रकाशन बन्द गरेको बताएको छ । सन् २०१२ मै प्रसिद्ध साप्ताहिक म्यागाजिन ‘न्युजविक’ ले आफ्नो छापा संस्करण बन्द गरेको घोषणा गर्‍यो । दुई वर्षपछि पुनः छपाइ सुरु गरे पनि प्रकाशित प्रतिहरूको
संख्य अत्यन्तै सीमित बनायो । बेलायतको प्रसिद्ध दैनिक ‘द गार्जियन’ ले आफ्नो वेबसाइटमा बन्द हुँदै गएका संसारभरका अखबारहरूको जानकारी समेटेर ‘न्युजपेपर क्लोजर्स’ को समर्पित क्लिक नै राखिदिएको छ । त्यसमा दिइएका जानकारीहरू विस्मयकारी छन् ।
तीन महिनाअघि, गत मे २४ मा अमेरिकी संसद्को ‘कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस)’ ले ‘स्टप द प्रेसेस ? न्युजपेपर्स इन डिजिटल एज’ शीर्षकमा एउटा प्रतिवेदन (आर ४७०१८) प्रकाशित गरेको छ । त्यसमा भनिएको छ, ‘विगत २० वर्षको अवधिमा २०० भन्दा बढी स्थानीय दैनिक पत्रिकाहरूले आफ्नो प्रकाशन संख्या वा आवृत्ति घटाएका वा पूर्ण रूपमा प्रकाशन बन्द नै भएका छन् । बाँचेकामध्ये धेरैले एक्काइसौं शताब्दीको आरम्भमा रोजगार रहेका पत्रकारहरूमध्ये सानो अंशलाई मात्र काममा राखेका छन् र पहिलेको तुलनामा असाध्यै कम मौलिक, स्थानीय र खोजमूलक समाचारहरू प्रकाशित गर्छन् । फलस्वरूप, स्थानीय समाचारहरू प्राप्त गर्न, हजारौं अमेरिकी समुदाय छद्म समाचारस्रोत (घोस्ट न्युजपेपर) हरूमा भर पर्छन् ।’ यसरी बन्द भएकामा ७० वटा राष्ट्रिय स्तरका दैनिक छन् ।
सीआरएसले उल्लेख गरेको अमेरिकाकै एक सर्वेक्षणलाई सन्दर्भ सामग्रीका रूपमा हेर्दा, अहिले समाचारका लागि ८ प्रतिशत अमेरिकीले मात्रै छापा माध्यम, २३ प्रतिशतले सामाजिक सञ्जाल प्लेटफर्महरू, १४ प्रतिशतले गुगलजस्ता सर्च इन्जिनहरू र २५ प्रतिशतले वेबसाइट वा एपहरूलाई स्रोत बनाउँछन् । कतिपय अनलाइन, सामाजिक सञ्जाल र एपहरू आफ्नो व्यवसायको निरन्तरताका लागि पूर्ववत् वा चालु अखबार, रेडियो वा टेलिभिजन स्टेसनहरूले पनि सञ्चालन गरिरहेका छन् । ४० प्रतिशत अमेरिकी अझै पनि टेलिभिजनमा समाचार हेर्छन् । यी आँकडामा नेपाल वा अन्य कुनै पनि मुलुकको आमसञ्चार परिदृश्य कति तुलनायोग्य होला ? प्रश्न गर्न सकिन्छ । तर प्रश्नातीत के छ भने, समाचार प्राप्त गर्ने माध्यम छापा वा रेडियो तरंगको सट्टा ‘डिजिटल डिभाइस’ भएको मात्र छैन, आमसञ्चारको सिंगो अवधारणा नै प्रतिस्थापित र खण्डित हुँदै छ । व्यक्तिलाई आफ्नो निजी चासोको समाचार आफ्नै डिभाइसमा पाउने स्वतन्त्रता मिलेको छ । व्यक्ति–व्यक्तिलाई सुहाउँदो ‘ओभर द टप’ सेवा दिने कम्पनीहरूले आम (मास) सूचना प्रवाहको अवधारणालाई निजी (पर्सनल) सूचना पस्कने अभ्यासद्वारा विस्थापित गर्दै छन् ।

आम्दानीको स्रोत
आमसञ्चारका माध्यमहरूको भविष्य अनिश्चित बन्दै जानुको कारक यी संस्थाहरूको आम्दानीको स्रोत (रेभेन्यु मोडल) मा आएको आमूल परिवर्तन नै हो । राजस्वको मुख्य स्रोत विज्ञापन नै हो । आफूलाई प्रविधिमा अद्यावधिक गर्न चतुर प्रमाणित गरेका परम्परागत आमसञ्चार माध्यमहरूले समाचारलाई ‘डिजिटल फर्म्याट’ मा ग्राहकसम्म पुर्‍याएर आम्दानी कायम राख्ने प्रयास गरेका छन् । तर यो मोडल सफल किन भइरहेको छैन भने, विज्ञापन लिने प्रतिस्पर्धा अर्को आमसञ्चारको माध्यमसँग मात्र नभएर मूलभूत रूपले गैरसमाचारमूलक ठूला बहुराष्ट्रिय कम्पनीहरूसँग हुन थालेको छ । अमेरिकाकै उदाहरण लिने हो भने, विगत दुई दशकमा छापा माध्यमको विज्ञापन आय ८० प्रतिशतले घटेको एवं गुगल र फेसबुक (मेटा) जस्ता कम्पनीहरूको क्रमशः ८६ र ९७ प्रतिशत आय विज्ञापनबाट मात्रै हुन थालेको बताइन्छ ।
रेडियोहरूको प्रभावकारिताको चर्चा नै कम छ र टेलिभिजनहरूको विज्ञापन पनि उल्लेख्य घटेको छ । पहिले प्रसारणको भौगोलिक फैलावटका आधारमा राष्ट्रिय र स्थानीय भनिएका टेलिभिजनहरूको अब विद्युतीय संकेतको पहुँच स्याटेलाइट र प्रसारण सञ्जालहरूमा निर्भर भएकाले यस्तो वर्गीकरणलाई पनि असजिलो बनाइदिएको छ । नेपालकै सन्दर्भको कुरा गर्दा, यसको असर पनि खास गरी स्थापित र विश्वसनीय भनिएका सञ्चारगृहहरूको आयमा परेको छ । चलिरहेका आमसञ्चारका सनातन माध्यमहरू, कम्तीमा २० वटा राष्ट्रिय दैनिक, त्यति नै संख्याका टेलिभिजन, ५ सयजति एफएम स्टेसन, २ हजारभन्दा बढी अनलाइन न्युज पोर्टल र सयौंको संख्याका स्थानीय छापा र विद्युतीय माध्यमहरूका अहिले तीनवटा प्रमुख साझा समस्या छन्, जसले उनीहरूको अस्तित्वलाई संकटापन्न बनाएको छ ।
पहिलो, अब यी माध्यमहरू बहुसंख्यक उपभोक्ताले निर्भर गर्ने समाचारको प्रमुख स्रोत रहेनन् । ग्राहकसम्म यी संस्थाहरूले उत्पादन गरेका समाचार सामग्री पुर्‍याउन पनि उनीहरू फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब आदि माध्यमहरूमाथि निर्भर हुनुपर्ने अवस्था आएको छ । र, विज्ञापनदाताहरू डलर नै खर्चेर भए पनि यहाँका सञ्चारमाध्यमको सट्टा सिधै यिनै प्लेटफर्ममा विज्ञापन दिन बढी इच्छुक देखिन थालेका छन् । यद्यपि, यो नेपालको मात्रै नभएर संसारकै ‘ट्रेन्ड’ हो ।
दोस्रो, यी मूलधार भनिएका आमसञ्चारका माध्यमहरूले आम्दानीको नयाँ स्रोत (रेभेन्यु मोडल) अपनाउने रणनीति अवलम्बनका लागि लगानी गर्न सकेका वा चाहेका छैनन् । आम मानिस, नीतिनिर्माता र सार्वजनकि पदधारीहरूले प्रकाशित/प्रसारित समाचार, विचार र जानकारीहरूको प्रभाव वा आलोचनाहरूको दबाब महसुस गर्न छोडिसकेको चेत सञ्चारगृहहरूलाई भएको छैन । पुरानै शैली र दम्भ छ । पछिल्लो प्रविधिमैत्री पुस्ताको रुचि सञ्चारमाध्यममा भन्दा सामाजिक सञ्जालमा आउने सूचना सामग्रीहरूप्रति छ ।
तेस्रो, समाचारका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा आउने अक्सर गलत, भ्रामक, छुद्र, प्रतिक्रियात्मक, अपरिष्कृत र अविश्वसनीय जानकारीहरूको बाढीमा बग्दै छन् । ‘फेक न्युज’ र वास्तविकता छुट्याउने धैर्य र चासो कम हुँदै गएको छ । लामा विश्लेषण र विचारहरूप्रतिको आकर्षण घटेको छ । अब आमसञ्चारको औचित्य र आवश्यकता नै छैन भन्ने भाष्य स्थापित हुँदै गएको छ ।

परिणति के त ?
सूचना प्रविधि र सामाजिक सञ्जालको यो अतिक्रमणपहिले नै मूलधारका मिडियाहरूप्रति संसारभरि आक्रोश फैलँदो थियो । सन् २००९ मै ‘द न्यु रिपब्लिक’ मा प्रकाशित पल स्टारको एउटा आलेखमा मेनस्ट्रिम मिडियालाई गाली गर्नका लागि तिरस्कारपूर्ण ‘एमएसएम’ छोटकरी रूप प्रयोग गर्न थालिएको र उनीहरूको पतनमा खुसी हुनेहरूको संख्या ठूलो रहेको तथ्य उल्लेख छ । नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेपालका केही सञ्चारगृहप्रति लक्षित आक्रामक अभिव्यक्ति विश्वव्यापी रूपमै बढ्दो प्रवृत्तिको एउटा सानो कडी मात्र हो । । खास गरी समाचार संस्थाहरूको ‘कर्पोरेटाइजेसन’ र विज्ञापन आयलाई समाचारसँग विनिमय गर्ने बढ्दो प्रवृत्तिबीच आमसञ्चारको भूमिका एवम् नैतिक धरातल सुहाउँदो वा निष्पक्ष भयो वा भएन भन्ने सेरोफेरोमा यो बहस प्रारम्भ भएको थियो ।
समाचार संस्थाहरूको नाफामुखी कर्पोरेटाइजेसन हुँदाहुँदै पनि आमसञ्चारका तीनवटा पक्ष अत्यन्तै विचारणीय छन् । एक, विज्ञापन आयकै कारण ग्राहकहरूले उत्पादन लागतभन्दा असाध्यै थोरै लागतमा समाचार सेवा पाउन सम्भव भएको थियो । उदाहरणका लागि, ५० रुपैयाँ लागतमा प्रकाशित हुने पत्रिका १० रुपैयाँमा ग्राहकको हातमा पर्छ । खर्चिला टेलिभिजन च्यानलहरूको सेवा पनि लागतका तुलनामा थोरै मूल्य तिरेर ग्राहकले पाइरहेका छन् । दुई, तीन शताब्दीयता आमसञ्चारका माध्यमहरूको नियमन संरचना, मानक र असल अभ्यासहरू संस्थागत भएका छन् । तिनको पालनाले समाचारहरूको विश्वसनीयता र निष्पक्षतालाई धेरै हदसम्म सुनिश्चित गरेको छ । कम्तीमा, सामाजिक सञ्जालबाट लिइने जानकारीको तुलनामा आमसञ्चारमार्फत आउने समाचारको विश्वसनीयता र जवाफदेही धेरै गुणा माथि छ । तीन, निजी डिभाइसमा सामाजिक सञ्जालले जानकारी पस्कने अभ्यासभन्दा ठीक विपरीत, आमसञ्चारका समाचार सामग्री सार्वजनिक परीक्षण (पब्लिक स्क्रुटिनी) को विषय बन्छन् र समाचारका सर्जक जवाफदेह रहन्छन् ।
खुम्चिँदो आम वा मूलधार सञ्चारको प्रयोग र खस्किँदो हैसियतले सरकारहरूलाई जवाफदेह बनाउन मुस्किल परेको र भ्रष्टाचार मौलाउने वातावरण फस्टाएको समान निष्कर्षहरू विश्वमा भएका दर्जनौं उच्च कोटिका अध्ययनले देखाएका छन् । एकातर्फ, सामाजिक सञ्जालमा आउने जानकारीको विश्वसनीयतामाथि सिधै प्रश्न गर्न सकिने भएकाले त्यसलाई बेवास्ता गर्ने सुविधा सार्वजनिक पदमा बस्नेहरूलाई सधैं हुने गर्छ । अर्कातर्फ, आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै कमजोर बन्दै जाने परिस्थिति निर्माण भइरहेको छ । राजस्वको कुरा गर्दा, सामाजिक सञ्जालमा हुने विज्ञापनको आय संसारका प्रविधि एकाधिकारहरू गुगल, फेसबुक, युट्युब आदितिरै प्रवाहित भएर उनीहरूलाई थप शक्तिशाली र अधिनायक बनाइरहेको छ । मुलुकभित्रका ती अहिले गाली गरिएका आमसञ्चार माध्यमहरूले यस्तो विज्ञापन राजस्व प्राप्त गर्दा लोकतन्त्र र अर्थतन्त्र बलियो होला कि बहुराष्ट्रिय एकाधिकार कम्पनीहरूको हित प्रवर्द्धनबाट ? अबको बहस यो शिराबाट हुनु आवश्यक छ ।

 

Page 7
दृष्टिकोण

शिक्षक अभाव : दीर्घकालीन रोग

- देवीराम आचार्य

 

साउन २ गते कान्तिपुरमा प्रकाशित दसपटकसम्म विज्ञापन गर्दा पनि गणित विषयको शिक्षक नपाइएको शीर्षकको समाचारले सरोकारवालाहरूको ध्यान खिच्यो । गाउँका विद्यालयहरूमा शिक्षक अभावको यस्तो कथा धेरै पहिलेदेखिकै हो । महालेखापरीक्षकको २०४० सालको प्रतिवेदनमा गणित र विज्ञान शिक्षकको अभावलाई शिक्षा क्षेत्रको समस्याका रूपमा उल्लेख गरिएको थियो । गणित र विज्ञान विषयका शिक्षकको अभाव ४० वर्षसम्म पनि उस्तै गरी देखिएको छ । विज्ञान शिक्षकलाई तालिम दिन विज्ञान शिक्षा परियोजना र गणितलाई रुचिकर बनाई यसमा विद्यार्थी बढाउन यूएसएआईडीको सहयोगमा अर्को परियोजना सञ्चालित भएका थिए । तर पनि शिक्षक तयारी, विकास र हरेक वर्ष कति शिक्षक आवश्यक पर्छ भन्ने प्रक्षेपण गर्ने संस्कार र पद्धति विकास नहुँदा ४० वर्षसम्म पनि गणित र विज्ञानका शिक्षकको अभाव भइरहेकै छ । शिक्षक तयार गर्ने काम विश्वविद्यालयहरूबाट हुने गरेको छ तर त्यो पूर्ण छैन र गुणस्तरीय पनि हुन सकेको छैन । विश्वविद्यालयमा शिक्षाशास्त्रका विषयहरू पढाइन्छन्, ती विषय पढेका विद्यार्थीले अध्यापन अनुमतिपत्रको परीक्षा दिन्छन्, तिनीहरू नै शिक्षक छनोट परीक्षामा सहभागी हुन्छन् र शिक्षक बन्छन् । गाउँपालिका वा विद्यालयहरूमा पनि अध्यापन अनुमतिपत्र भएका व्यक्तिहरू अस्थायी, करार, राहत, संघीय अनुदान, प्रदेश अनुदान, पालिका शिक्षक, स्वयंसेवकजस्ता विभिन्न नाममा शिक्षक बन्छन् ।
विश्वविद्यालय अनुदान आयोगको पछिल्लो प्रतिवेदन अनुसार देशभरका १,४४० उच्च शिक्षाका शैक्षिक संस्थामध्ये ५६३ मा शिक्षाशास्त्रको अध्यापन हुने गर्छ । उच्च शिक्षामा अध्ययनरत जम्मा विद्यार्थीमध्ये २२.१८ प्रतिशतले शिक्षाशास्त्रको अध्ययन गर्छन् र तीमध्ये ६३ प्रतिशत छात्रा छन् । शिक्षाशास्त्र संकाय अध्ययन गर्नेहरू मात्र शिक्षक बन्न पाउने प्रावधान छ । केही तोकिएका विषयमा शिक्षाशास्त्र अध्ययन नगरे पनि अध्यापन अनुमतिपत्रको परीक्षा दिन पाइए पनि शिक्षाशास्त्र संकाय अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था छ । त्रिविमा सबैभन्दा कम विद्यार्थी उत्तीर्ण हुने संकायमा शिक्षा पर्छ । यसको उत्तीर्णदर २०७५ मा १६ प्रतिशत मात्र थियो । संकायकै गुणस्तर कमजोर भएको, शिक्षाशास्त्र संकायमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थी भर्ना हुने गरेको, अधिकांश ग्रामीण क्षेत्रमा शिक्षाशास्त्रको पढाइ भइरहेको जस्ता कारणले अब्बल शिक्षक उत्पादन हुन सकेका छैनन् । गत वर्ष शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि गरेको विज्ञापनमा तीनै तहमा गरी ३,९६१ पदमा पदपूर्ति हुन सकेन (हेर्नुस्, कान्तिपुर, २०७९ चैत ३) । स्थायी पदमा समेत शिक्षक पदपूर्ति हुन नसकिरहेको अवस्थामा खासखास विषयमा शिक्षक नपाइनु स्वाभाविक पनि हुन सक्छ ।
दस पटकसम्म विज्ञापन गर्दा पनि शिक्षक नपाइएको, ४० वर्षअगाडिदेखि नै निरन्तर रूपमा त्यही समस्या देखिइरहेको र स्थायी शिक्षकको समेत पदपूर्ति नभइरहेको पृष्ठभूमिमा गणित र विज्ञान विषयको शिक्षक तयारीका सन्दर्भमा फरक र नयाँ अभ्यासहरूको अवलम्बन गर्नु जरुरी छ । गणित र विज्ञान विषयका शिक्षकको अभावका सन्दर्भमा हेर्दा, माध्यमिक तहबाट उच्च शिक्षामा गणित र विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीको संख्या तथा माध्यमिक तहमा विज्ञान र गणित विषय पढ्नका लागि योग्यतासहित उत्तीर्ण हुने विद्यार्थी संख्या अझ महत्त्वपूर्ण हुन्छ । गत महिना मात्र प्रकाशित एसईईको नतिजामा सबैभन्दा धेरै विद्यार्थी गणितमा कमजोर पाइए । जम्मा परीक्षार्थीमध्ये ३३ प्रतिशत विद्यार्थीको ई ग्रेड आएको छ । परीक्षामा २० भन्दा कम अंक प्राप्त भएमा ई ग्रेड दिने गरिन्छ । यसरी हेर्दा गणितमा अरू १० प्रतिशत विद्यार्थीको डी ग्रेड र १२ प्रतिशतको डी प्लस ग्रेड आएको छ । जम्मा परीक्षार्थीमध्ये गणित विषयमा ५५ प्रतिशतको सिकाइस्तर ग्राह्य अवस्थाको देखिन्छ । विद्यार्थीको राष्ट्रिय सिकाइ उपलब्धि परीक्षणको नतिजाले समग्रमा करिब ७० प्रतिशत विद्यार्थीले कक्षामा सिक्नुपर्ने न्यूनतम सिकाइस्तर हासिल नगरेको देखाएको छ । कक्षा ३ पूरा गरेर ४ मा जाने ५० प्रतिशत विद्यार्थीमा संख्याको ज्ञानै भएको हुँदैन । ललितपुरको एउटा गाउँपालिकाका १६ विद्यालयका कक्षा ३ का १३७ विद्यार्थीमा गरिएको परीक्षणमा (१३५ लाई एक सय पैंतीस भनेर) पहिचान गर्न सक्ने विद्यार्थी ४१ जना मात्र थिए । कक्षा ५ मा पुगेका ६० प्रतिशतभन्दा धेरै विद्यार्थीले गणितका आधारभूत ज्ञान जोड, घटाउ, गुणन र भागका सीपहरू सिकेका हुँदैनन्, जसले गर्दा माथिल्ला कक्षाहरूमा गणित सिक्न सक्दैनन् ।
राष्ट्रिय परीक्षा बोर्ड अनुसार, कक्षा ११ मा भर्ना हुनका लागि समग्रमा जीपीए १.६ भए पुग्छ । यद्यपि विद्यार्थीले आफ्नो
सिकाइस्तरको मूल्यांकन आफैंले गरेरै कुन विषय पढ्ने वा नपढ्ने रोज्ने हुनाले सामान्यतया ५० भन्दा कम अंक ल्याउने विद्यार्थीले गणित विषय पढ्ने सम्भावना ज्यादै कम हुन्छ । खास कारणले परीक्षा बिग्रिएका केही विद्यार्थीले पढ्लान् । यस अर्थमा यो वर्ष ४५ प्रतिशत विद्यार्थी गणित पढ्न योग्य छन् तर तीमध्ये कतिले गणित वा विज्ञान पढ्लान् ? तथ्यांक सार्वजनिक भएको छैन तथापि तीमध्ये कति सामुदायिकबाट होलान् ? र, कति विद्यार्थी शिक्षण पेसाका लागि तयार भई शिक्षक सेवा आयोगबाट अध्यापन अनुमतिपत्र लिएर शिक्षक बन्न तयार होलान् । अहिले २०८० मा विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक उपलब्ध हुन सकेनन् भने २०८१ मा चाहिँ होलान् ? त्यस्तो आधार पाइँदैन । कक्षा १० को कमजोर सिकाइस्तर भएका विद्यार्थीहरूले विज्ञान, गणित र अंग्रेजी विषय अध्ययन गर्दैनन् । परीक्षामा अंक जेजति आए पनि कुनै विषयमा आफ्नो सिकाइस्तर कति छ र त्यो विषयको रुचि कस्तो छ, विद्यार्थी आफैंले छनोट गर्छन् । विद्यालय तहको कमजोर सिकाइ अवस्थाले उच्च शिक्षामा प्राविधिक विषय पढ्ने विद्यार्थी प्रतिशत घटिरहेको छ र साधारण शिक्षामा बढिरहेको छ । तीन वर्षयता प्राविधिक उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या २३ प्रतिशतबाट घटेर २० मा पुगेको छ ।
शिक्षक तयारी कोर्स बीएडमा गणित र विज्ञान पढ्ने विद्यार्थी एकदमै कम छन् र क्रमशः घटिरहेका छन् । बीएडमा गणित र विज्ञान पढ्नका लागि कक्षा ११ र १२ मा गणित वा विज्ञान पढेकै हुनुपर्छ र त्यसका लागि विद्यालयमा राम्रो सिकाइ भएको पनि हुनुपर्छ । कक्षा ११ र १२ मा गणित र विज्ञान पढ्ने विद्यार्थी पनि एकदमै कम छन् र क्रमशः घटिरहेका छन् । कक्षा ११ र १२ मा गणित र विज्ञान पढ्ने निजी विद्यालयका सहरकेन्द्रित विद्यार्थी मेडिकल तथा इन्जिनियरिङतर्फ जान्छन् र त्यो भएन भने उनीहरूको लक्ष्य विदेश हुन्छ । विद्यार्थीहरू विदेश जाने सावलमा अर्कै बहस होला तर आजका दिनमा गणित र विज्ञान पढेका, सहरी क्षेत्रका, मध्यमवर्गीय परिवारका युवायुवती नेपालमा बस्न चाहँदैनन् ।
ग्रामीण क्षेत्रका केही पालिकाले डाक्टरी र इन्जिनियरिङ पढाउने घोषणा गरिरहेका छन् । तर त्यस्ता पालिकाका विद्यालयहरूबाट कति विद्यार्थीले डाक्टरी र इन्जिनियरिङ पढ्न सक्ने ल्याकत राखेर विद्यालय उत्तीर्ण गर्छन् ? त्योभन्दा महत्त्वपूर्ण, विद्यालय तहको शिक्षण सिकाइमा सुधार गरेर अब्बल विद्यार्थी बनाउन सकियो भने उसलाई पढ्न पालिकाले खर्च गर्न नपर्ला र छात्रवृत्तिमै पढ्न पाउला । यदि दीर्घकालीन दृष्टिबाट हेर्ने हो भने अहिले पालिकाहरूले विद्यालयमा गणित र विज्ञानका राम्रा शिक्षक तयार गर्नतर्फ लगानी गर्नु उपयुक्त हुन्छ, ताकि चारपाँच वर्षपछि डाक्टरी र इन्जिनियरिङ पढ्ने धेरै विद्यार्थी तयार हुन सकून् ।
शिक्षक व्यवस्थापन हाम्रो शिक्षा प्रणालीको दीर्घरोग नै भएको छ । शिक्षक तयारी, विकास र व्यवस्थापनका पक्षमा संवेदनशील हुन सकिएको छैन । कतै विद्यार्थी छन् त शिक्षक छैनन्, कतै शिक्षक छन् त विद्यार्थी छैनन् । सहरी क्षेत्रमा शिक्षक अभाव छैन तर ग्रामीण क्षेत्रमा शिक्षक नै पाइँदैनन् र पाइएका शिक्षक पनि लामो समय बस्दैनन् । गुणस्तरीय शिक्षकबाट सिक्ने अधिकारको प्रत्याभूति हुन सकेको छैन । शिक्षक तयारी, शिक्षक विकास, शिक्षक व्यवस्थापनका परम्परागत ढाँचामा परिवर्तन जरुरी छ । सूचना प्रविधिका कारण शिक्षक व्यवस्थापनलाई नयाँ ढाँचाबाट विकास गर्न सकिने अवसर छ । पालिकाहरूले अब बहुविद्यालय शिक्षक, मुख्य शिक्षक र सहायक शिक्षक, प्रविधि शिक्षकजस्ता अवधारणाहरूबाट शिक्षक व्यवस्थापन रणनीति तय गरी शिक्षक व्यवस्थापन गर्न सक्छन् । शिक्षाबाहेक अन्य संकाय अध्ययन गरेका व्यक्तिहरूलाई पनि अवसर दिन र केही
छोटो समयका सघन कोर्सहरू सञ्चालन गर्न सकिन्छ । पालिका तहबाटै शिक्षक तयारी र विकासमा लगानी सुरु गर्न सकियो भने अबका पाँच वर्षमा शिक्षक आपूर्ति सहज हुनेछ । अन्यथा यसरी नै अरू ४० वर्षसम्म पनि शिक्षक नपाइने अवस्था रहन सक्छ ।

दृष्टिकोण

जनसाङ्ख्यिक लाभांशको घर्किंदो समय

- सुरेन्द्र बस्नेत

 

नेपालमा कुनै बेला यस्तो थियो, काम गर्ने र आयआर्जन गर्ने उमेरका मानिसको भन्दा बढी जनसङ्ख्या उनीहरूमा आश्रित हुनेहरूको थियो । तर यति बेला आश्रित हुनेहरूको भन्दा काम गर्न सक्ने उमेरका मानिसको जनसङ्ख्या अत्यधिक छ । जनगणना–२०७८ अनुसार नेपालमा काम गर्न सक्ने १५–५९ वर्ष उमेर समूहको जनसङ्ख्या
कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत अर्थात् १,८०,७१,६८५ छ । सामान्यतया आयआर्जन गर्न नसक्ने उमेर मानिने १४ वर्षभन्दा मुनिको जनसङ्ख्या २७.८३ प्रतिशत र ६० वर्षभन्दा माथिको जनसङ्ख्या १०.२१ प्रतिशत छ । आश्रित हुनेको भन्दा काम गर्ने मानिसको जनसङ्ख्या धेरै हुनुलाई नै सामान्य भाषामा जनसाङ्ख्यिक लाभांश भनिन्छ । जनगणना–२०४८ पछि नेपाल निरन्तर जनसाङ्ख्यिक लाभांशमा रहँदै आए पनि त्यो अवधि अबको अढाई दशकभन्दा बढी नरहने विज्ञहरूको दाबी छ ।
राष्ट्रिय युवा नीति–२०७२ अनुसार नेपालमा १६–४० उमेर समूहको जनसङ्ख्यालाई युवाका रूपमा परिभाषित गरिएको छ । जनगणना–२०७८ अनुसार त्यो उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत अर्थात् १,२४,१२,१७३ छ । जनगणना–२०६८ अनुसार त्यो उमेर समूहको जनसङ्ख्या ४०.३५ प्रतिशत थियो । ऊर्जाशील युवाको यत्तिको ठूलो जनसङ्ख्या
हुनु मुलुकको विकासका निम्ति निकै राम्रो हो । जनसाङ्ख्यिक लाभांश हुनु र त्यसबाट अत्यधिक लाभ लिन सक्ने सम्भाव्यता हुनु पक्कै पनि सकारात्मक विषय हो । थुप्रै देशले यस्तै अवधिमा विकास र समृद्धिमा फड्को मारेका हुन् । तर त्यो सम्भाव्यताका आधारमा राज्यले साँच्चिकै लाभ लिन सक्छ कि वा सक्दैन, यो चाहिँ अहम् सवाल हो ।
हाम्रो जनसाङ्ख्यिक लाभांशको फाइदाचाहिँ हामीले भन्दा पनि हाम्रा युवाहरू गएका देशहरूले बढ्ता लिने परिस्थिति बन्दै जानु चिन्ताको विषय हो । केही समयअघि संघीय राजधानीको एउटा निजी कलेजमा आयोजित खुला बहसमा यो पंक्तिकारलाई पनि आमन्त्रण गरिएको थियो । बहसमा त्यस कलेजका एक हजारभन्दा बढी विद्यार्थी सहभागी थिए ।
आफ्नो पालो आएपछि मैले एउटा सरल र खुला सर्वेक्षण गर्ने प्रयास गरें । एकदमै गुणस्तरीय शिक्षा दिएको दाबी गर्ने त्यस कलेजका विद्यार्थीलाई मैले तीन वटा प्रश्न सामूहिक रूपमा सोधें ।
पहिलो प्रश्न थियो— ‘तपार्इंहरूमध्ये कति जना पढाइ सकेपछि यो देशको राष्ट्रसेवक कर्मचारी, सैनिक, पुलिस, शिक्षक आदि बन्न चाहनुहुन्छ ?’ उक्त प्रश्नमा हात उठाउनेहरू पाँच जना पनि भएनन् । ‘तपाईंहरूमध्ये कति जना देशभित्रै बसेर उद्यम, व्यापार, कृषि आदि गरेर अघि बढ्न चाहनुहुन्छ ?’ भन्ने दोस्रो प्रश्नमा पनि हात उठाउनेको संख्या आधा दर्जन नाघेन । मेरो अन्तिम प्रश्न थियो— ‘तपार्इंहरूमध्ये कति जना पढाइ सकेर वा नसकीकनै युरोप, अमेरिका, अस्ट्रेलिया गएर आजीविका धान्न चाहनुहुन्छ ?’ करिब शत प्रतिशतले नै करतल ध्वनिका साथ सहमतिसूचक हात उठाए । यो हाम्रो देशको एउटा चित्र हो । यसले एकैसाथ हाम्रो राज्य, सरकार, शिक्षा प्रणाली र त्यसबाट सृजित युवा मनोदशालाई अभिव्यक्त गर्छ । यो विचित्रको चित्र नबदलिँदासम्म हाम्रो देशले समृद्धिको बाटो तय गर्न सक्दैन ।
पछिल्ला तथ्यांकहरू हेर्दा हरेक वर्ष काम वा पढाइका नाममा ६ लाखभन्दा बढी युवा बिदेसिने गरेका छन् । हरेक वर्ष साढे ४ लाख नयाँ युवा श्रमबजारमा आउँछन् । तीमध्ये ज्यादै नगण्य युवाले मात्र सरकारी तवरबाट रोजगारी पाउँछन् । बाँकी सबै युवा या बिदेसिन बाध्य छन् या त स्वदेशमै बेरोजगारीको अन्धकारमय जीवन जिउन । ती युवाहरूलाई स्वदेशभित्रै सपना, आशा र भरोसा देखाउन सके मात्र मुलुकले जनसाङ्ख्यिक लाभांश पाउन सक्छ । यसका निम्ति उद्यमशीलताको महाभियान नै निर्विकल्प बाटो हो । नेपाल कृषिप्रधान देश हो । समुद्र सतहदेखि फरकफरक उचाइमा रहेका हिमाल, पहाड र तराईको अवस्थितिले हामीलाई प्राकृतिक रूपमा मात्र हैन, जैविक र उत्पादनका दृष्टिले पनि निकै सम्पन्न बनाइदिएको छ । तर विडम्बना, मकैदेखि चामलसम्म, तरकारीदेखि फलफूलसम्म, दाँत कोट्याउने सिन्कादेखि जनैसम्म आयात गरिरहनुपरेको छ । हाम्रा स्रोत, साधन, सामर्थ्य र जनशक्ति पहिचान गरी कम्तीमा आधारभूत कृषि उत्पादन बढाएर आयात र अन्य सम्भावित क्षेत्रमा निर्यात घटाउनुपर्छ ।
हामीसँग झन्डै डेढ अर्ब जनसङ्ख्या भएको उत्तरी छिमेकी छ । त्यही हाराहारीको जनसङ्ख्या भएको दक्षिणी छिमेकी छ । कूटनीतिक सन्तुलन र भूराजनीतिक व्यवस्थापनका दृष्टिले यसलाई तनावका रूपमा लिने चलन छ । यो सोच अब त्याग्नुपर्छ र यो विशिष्ट अवस्थितिलाई आर्थिक विकासको अनुपम अवसरमा बदल्नुपर्छ । किनकि विशाल जनसङ्ख्या भएका दुई छिमेकी हाम्रा निम्ति असाधारण र अभूतपूर्व बजार हुन् । यो बजारलाई लक्षित गर्दै हामीले करोडौंको आस्थाको केन्द्र बुद्धभूमि लुम्बिनी, करोडौंको पुण्यभूमि पशुपतिनाथ र विश्वको अग्लो शिखर सगरमाथालाई थप ब्रान्डिङ गर्नुपर्छ । जनसाङ्ख्यिक
लाभांशलाई शिरमा राखेर हामीले ऊर्जा, कृषि, पर्यटन र उद्यमशीलताको तीर चलायौं भने समृद्धिको खीर खान समय लाग्दैन । यसका निम्ति हामीले मौलिक उत्पादन बढाउन र प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्छ । अहिलेको समयलाई खेर फाल्यौं भने भविष्यमा समयले हामीलाई खेर फाल्नेछ । त्यसैले जनसाङ्ख्यिक
लाभांशको भरपूर सदुपयोग गर्दै आम युवाका लागि राष्ट्रनिर्माणको बाटामा अग्रसर हुने वातावरण बनाउनुपर्छ । विदेशमा काम गरेर फर्किएका युवाहरूलाई उनीहरूले आर्जन गरेका ज्ञान, सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्न प्रोत्साहनसहितको उपयुक्त नीति र वातावरण बनाउनुपर्छ । तीनै तहका सरकारमार्फत लाखौंलाख युवालाई उद्यमशीलतामा जोड्नका निम्ति बिनाधितो सहुलियतपूर्ण कर्जा र उद्यममैत्री वातावरण बनाउनुपर्छ । यससँगै हाम्रो शिक्षालाई श्रमसित, श्रमलाई सीपसित, सीपलाई रोजगारी र उद्यमसित, रोजगारी र उद्यमलाई समृद्धिसित र समृद्धिलाई संविधानले परिकल्पना गरेको समाजवादसित जोड्नुपर्छ ।
बस्नेत राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष हुन् ।

दृष्टिकोण

बालबालिकाका यौनिक अभिव्यक्ति र व्यवहार

- मधु राई


‘हेर्नु न म्याम, यसले मलाई आई लभ यु लेखेको कागज दिन्छ ।’ कक्षामा पढाइरहेका बेला कहिलेकाहीँ छात्राहरूले कागजको चिर्कटो देखाउँदै मलाई भन्ने गर्छन् । यूकेजीमा पढ्ने छात्रहरूले छात्राहरूलाई बेलाबेला यस्ता कागजमा अंग्रेजी अक्षर ‘आई’ त्यसपछि मुटुको आकार र अंग्रेजी अक्षर ‘यु’ लेखेर दिने गर्छन्् । कहिले मुटुको चित्र मात्रै बनाएर पनि थमाउने गर्छन् । तत्कालका लागि उनीहरूलाई सम्झाइ–बुझाइ गरे पनि बेलाबेला उनीहरूको उमेर र यस्तो व्यवहारले हामी शिक्षकलाई किंकर्तव्यविमूढ बनाउँछ । कहिलेकहिले हामी शिक्षकले तत्कालका लागि छात्रहरूलाई ‘अबदेखि यसो नगर्नू है’ भनेर स्थिति सामान्य बनाउने प्रयास गर्छौं । पढाइमा अलि ध्यान नदिने र अरूलाई दुःख दिने प्रवृत्तिका कतिपय छात्रले कागजको चिर्कटो मात्र दिँदैनन्, ‘आई लभ यु’ भन्दै गालामा म्वाई खाने गरेको पनि सुनाउँछन् छात्राहरू । कहिलेकाहीँ त छात्रहरूले आफू नजिक बसेका छात्राहरूको कपाल, रिबन, फ्रक तान्ने गर्छन् । छात्रहरूका यस्ता यौनिक अभिव्यक्ति र व्यवहारबाट छात्राहरूले अनाहकमा दुःख पाइरहेका हुन्छन् । कहिलेकाहीँ छात्राहरूले आफ्ना अभिभावकलाई समेत सुनाउने गर्छन्् र परिस्थिति असामान्य बन्न जान्छ ।
उदाहरणका लागि, गत वर्षर् शैक्षिक सत्र सुरु भएको दोस्रो महिना यूकेजीमै पढ्ने जुम्ल्याहा दाजुभाइ अचानक विद्यालय आउन छाडे । केही दिनपछि ती दाजुभाइले छात्राहरूलाई त्यसरी नै कहिले म्वाई खाने त कहिले अनाहकमा दुःख दिने गरेको कुरा छात्राका अभिभावकले सुनाए । बाटामा आउँदा–जाँदा ती छात्राका अभिभावकले ‘तपाईंका छोराहरूले हाम्रा छोरीहरूलाई सधैं दुःख दिने गर्छन्् रे’ भनेपछि जुम्ल्याहाका अभिभावकले सुटुक्कै छोराहरूको विद्यालय परिवर्तन गरिदिएको सुनियो । यूकेजीमा पढ्ने छात्रहरूले छात्राहरूलाई गर्ने यस्ता व्यवहारबारे हामी शिक्षक र अभिभावकले त्यति गम्भीरतासाथ लिने गर्दैनौं । तर, त्यो गम्भीर भइसकेको हुन्छ ।
त्यसो त प्रावि तहका कतिपय विद्यार्थीले पनि यस्तो व्यवहार गर्ने गर्छन्् । पछिल्लो समय प्रावि तहकै कतिपय छात्राले समेत छात्रहरूलाई यस्तो व्यवहार गर्ने गरेको सुनिन्छ । घरनजिकैको विद्यालयमा पाँच कक्षामा पढ्ने छिमेकीको छोराले केही दिनअघि आफ्नी आमालाई भनेछ, ‘ममी, अबदेखि म स्कुल जाँदिनँ । केटीहरूले मलाई सधैं आई लभ यु भन्छन् ।’ आमा असमञ्जसमा परिन् र विद्यालय प्रशासनलाई यसबारे अवगत गराएपछि स्थिति सामान्य बन्यो । सोही विद्यालयमा सात कक्षा पढ्ने मेरो नातिले केही दिनअघि मलाई सुनायो, ‘मुमा, मलाई त एक जना केटी साथीले मन पराउँछ, तर मलाई त ऊ मन पर्दैन ।’ मैले उसलाई फुर्क्याउन तत्कालै भनें, ‘ओहो, कसैले कसैलाई मन पराउनु त राम्रो कुरा हो । तिम्रो व्यक्तित्व विकास त राम्रो हुँदै रहेछ, नाति ! अब पढाइमा अझै राम्रो गर्‍यौ भने सबै केटाले पनि तिमीलाई मन पराउन थाल्छन् ।’ साथै सोचें— मेरो नातिजस्ता कतिले
आफ्ना अभिभावकसँग यसरी मनका कुरा गर्छन्् होला र तिनका अभिभावकले के भनेर सम्झाउँछन् होला ? पक्कै पनि बहुसंख्यक बालबालिकाले यस्ता कुरा आफ्ना अभिभावकलाई सुनाउँदैनन् ।
पूर्वप्रावि तहदेखि नै साना विद्यार्थीहरूमा देखिने यस्ता यौनिक अभिव्यक्ति र व्यवहारलाई बहुसंख्यक शिक्षकले नजरअन्दाज गरेको पाइन्छ । कतिपय अवस्थामा स्थिति सामान्य बनाउने नाममा विद्यार्थीहरूलाई शारीरिक सजायसमेत दिइन्छ । कतिपय अभिभावकले समाधानका रूपमा विद्यालय परिवर्तन गरिदिन्छन््, जुन दीर्घकालीन उपाय होइन । बालबालिकाले जानी–नजानी गरेका यस्ता व्यवहारप्रति कठोर भई शारीरिक सजाय दिनु त्यति जायज देखिँदैन । पीडित र पीडक छात्रछात्राका अभिभावकहरूले पनि आफ्ना छोराछोरीका यस्ता अभिव्यक्ति र व्यवहारबारे शिक्षक तथा विद्यालय प्रशासनसमक्ष कुरा गर्नु उचित हुन्छ ।
बदलिँदो सामाजिक परिवेश तथा सूचना प्रविधिको विकासले सबै उमेर, वर्ग र समुदायमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्दै आएको छ । बालबालिका पनि यसबाट अछुता छैनन् । विशेषतः सहरी क्षेत्रमा कतिपय बालबालिकाले घरमा अभिभावकहरूलाई घण्टौं मोबाइल र टीभीमा समय बिताउने गरेको देख्छन् । कतिपय बालबालिका टीभी र मोबाइलका लागि झगडा गर्ने गर्छन्् । छोराछोरीकै अगाडि मोबाइल र टीभीमा घण्टौं समय बिताउने अभिभावकहरूले तिनलाई पनि आफूजस्तै बनाइरहेका हुन्छन् । आफ्नो यस्तो दैनिकीले छोराछोरीमा कस्तो प्रभाव पार्छ भनेर अभिभावकहरूले सोचेको देखिँदैन ।
कतिपय अभिभावकले छोराछोरी खुसी पार्न
केही समयका लागि गेम खेल्न मोबाइल दिने गर्छन्् । यसो हुँदा पनि छोराछोरीहरूमा पढाइभन्दा यस्ता वस्तुप्रति अचाक्ली मोह बढ्ने गरेको पाइन्छ । मेरै टोलमा पनि यस्ता कतिपय बालबालिकाले मोबाइल फोनको लतकै कारण पढाइ छाडेका छन् ।
सूचना प्रविधिको दुरुपयोगले सामाजिक विकृतिहरू विस्तार हुँदै गएका छन् । पछिल्लो समय बालबालिकामा यौनिकता सम्बन्धी खुलदुली बढ्दै गएको छ । बालबालिकाले मोबाइल फोनमा जे देख्छन्, त्यसैको नक्कल गर्ने गरेको पाइन्छ । बहुसंख्यक विद्यालयका शिक्षकशिक्षिकाहरू यस्ता विषयमा त्यति संवेदनशील देखिँदैनन् । २०७५ असोजको अङ्कमा ‘शिक्षक’ मासिकले बालबालिकाका यौनिक अभिव्यक्ति र व्यवहारलाई अभिभावक र शिक्षकले कसरी बुझ्ने भन्नेबारे खोजमूलक सामग्री छापेको थियो । दिल्ली विश्वविद्यालयमा एलिमेन्ट्री एजुकेसन डिपार्टमेन्टकी प्राध्यापक निधि गुलाटीले तीन–सात वर्ष उमेर समूहका बालबालिकामा यौनिकता सम्बन्धी रुचि बढ्ने तथा उनीहरूले महिला–पुरुष लैंगिक अन्तरहरू थाहा
पाउने उल्लेख गरेकी छन् । जस्तो— कतिपय छात्र छात्राको शौचालयनजिक गएर उभिने तथा भित्र चियाउने गरेको पाइन्छ ।
विडम्बना, अन्यत्र बालबालिकाका यौनिक अभिव्यक्ति र व्यवहारबारे अध्ययन–अनुसन्धान भइरहे पनि हामीकहाँ यसबारे कुरा गर्न वर्जितजस्तै छ । घर र विद्यालयमा यस्ता विषयमा बोल्नै वर्जित गरिएपछि बालबालिकामा यस सम्बन्धी कौतूहल जाग्नु स्वाभाविक हो । यसरी सानो
छँदा वर्जितजस्तै गरिएका यौनिकता सम्बन्धी जिज्ञासाले किशोरावस्थासम्म पुग्दा थप
समस्या निम्त्याउँछ ।
यौनिकतालाई लिएर विद्यार्थीहरूका अनेक जिज्ञासा र कौतूहल हुन सक्छन्, तर अफसोस, यसबारे विद्यार्थीहरूले न विद्यालयमा शिक्षकहरूबाट मनोपरामर्श पाउँछन् न त घरमा अभिभावकहरू नै सचेत छन् । के सामुदायिक के निजी, पछिल्लो समय किशोरावस्थाका विद्यार्थीहरूबीच ‘गर्ल फ्रेन्ड ,ब्वाई फ्रेन्ड’ शब्दावली बढी प्रयोगमा आउन थालेका छन् । पढ्नमा भन्दा केटा साथी वा केटी साथी बनाउने ध्याउन्नमा रहने किशोरकिशोरी विपरीतलिंगीप्रति बढी आकर्षित हुन्छन् भने यसले उनीहरूमा ‘पढेर के नै हुन्छ र ?’ भन्ने भावना पैदा गराउँछ । कालान्तरमा कतिपयले उमेरै नपुगी प्रेमविवाह गर्छन् र पढाइलाई बिट मार्छन्् ।
केटा साथी वा केटी साथी बनाउनु आफैंमा नराम्रो होइन भन्ने कुरा अभिभावक तथा शिक्षकहरूले बुझ्न जरुरी छ । तथापि कतिपय शिक्षक तथा अभिभावकहरूले आफ्ना
किशोरावस्थाका विद्यार्थी र छोराछोरीलाई ‘केटा साथी वा केटी साथी’ बनाउनु नराम्रो हो भनेर बुझाउने गरेका छन् । कतिपय शिक्षकले आफ्ना विद्यार्थीहरूलाई मनोपरामर्श दिनुको साटो विद्यालयबाटै निष्कासन गरिदिन्छन् । यसरी विद्यार्थी जीवनमा यौनिकताबारे राम्ररी बुझाउन नसकिएकै कारण पनि बालबालिकाको यौनिक अभिव्यक्ति र व्यवहारप्रति शिक्षक तथा अभिभावकहरू ‘कुहिरोको काग’ बन्ने गरेका छौं । प्रा. गुलाटीले बालबालिकाको यौनिक अभिव्यक्ति र व्यवहारबारे शिक्षक तथा अभिभावकहरू नकारात्मक हुनुको साटो संयमसाथ उनीहरूसँग संवाद गरेर समाधानको बाटो खोज्नुपर्ने बताएकी छन् । हुन पनि हो, बालबालिकाका यौनिक अभिव्यक्ति र व्यवहारबारे हामी शिक्षक तथा अभिभावकहरूले संवेदनशील भई यसको दिगो समाधानका उपायहरू खोज्न जरुरी छ । यसका लागि बालबालिकाको संवेग र भावनालाई
बुझ्नुपर्छ । विद्यालयमा शिक्षक र विद्यार्थी तथा घरमा अभिभावक र छोराछोरीबीच सुमधुर सम्बन्ध स्थापित हुनुपर्छ । यसो हुन सके जानी–नजानी व्यक्त हुने यौनिक अभिव्यक्ति र व्यवहारबारे बालबालिका स्वयं सजग हुँदै जान्छन् ।

Page 8
परदेश

३ वर्षपछि मात्र सत्ता छाड्ने निजेर सेनाको अडान

- कान्तिपुर संवाददाता

 

नियामी (एजेन्सी)– निजेरका सेना प्रमुखले ३ वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका छन् । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले शनिबार स्थानीय टेलिभिजनमार्फत नागरिक शासन पुनर्बहाली गर्ने समयसीमा तोकेका हुन् ।
यद्यपि, उनले यसबारे थप विवरण
खुलाएका छैनन् ।
निजेरमा हालै सेनाले कु गरेर सत्ता कब्जामा लिएको छ । राष्ट्रपति मोहम्मद बाजौमलाई अपदस्थ गरी चियानीले आफूलाई सरकार प्रमुखको घोषणा गरेका छन् । उनले नागरिक शासन फिर्ता गर्ने प्रक्रियाबारे आगामी ३० दिनमा संवाद गरेर तय गर्ने बताएका छन् । ‘अहिलेको संकटबाट बाहिर निस्कन हामी सबै मिलेर काम गर्न जरुरी छ,’ चियानीले भने ।
इकोवासका तर्फबाट नाइजेरियाका पूर्वराष्ट्राध्यक्ष अब्दुलसलामी अबुबाकर नेतृत्वको टोलीले अपदस्थ राष्ट्रपति बाजौमसँग पनि अलग्गै भेटघाट गरेको छ । बाजौम हाल निजेर सेनाको कैदमा छन् । इकोवासले बाजौमलाई पुनर्बहालीका लागि आग्रह गर्दै आए पनि निजेर सेनाले अस्वीकार गरिरहेको छ । त्यही कारण हालै भएको इकोवासको बैठकले आफ्नो संयुक्त सैन्य बललाई तयारीमा रहन निर्देशन पनि दिएको छ । शुक्रबार इकोवासका आयुक्त अब्दुल–फतेउ मुसाहले आफ्ना १५ मध्ये ११ सदस्य देश निजेरको सैन्य शासनविरुद्ध संयुक्त बललाई तयारी अवस्थामा राख्न सहमत भएको उल्लेख गरेका थिए । हाल सैन्य शासन रहेका गुयना, माली र बुर्किना फासोले भने इकोवासको प्रस्ताव अस्वीकार गरेका थिए ।
अफ्रिकी साहेल क्षेत्रको कार्यक्रममा काम गर्दै आएका विश्लेषक उल्फ लेसिङले निजेर सेना आफ्नो शासन व्यवस्था बलियो बनाउन लागिरहेको र मुख्य युनिटहरूमा इमानदार कमान्डरलाई नियुक्ति गरिरहेको बताए । ‘अर्कोतर्फ इकोवासलाई निजेरमा सैन्य कारबाहीका लागि न अनुभव छ, न त हस्तक्षेप गरेमा स्थानीयको नै सहयोग हुनेछ,’ उनले भने । निजेरको आर्थिक अवस्था कमजोर रहेको र इकोवासले सैन्य हस्तक्षेप गरेमा सुडानजस्तै असफल राष्ट्र बन्ने उनले बताए । इकोवासले सैन्य बल तयारी अवस्थामा राख्ने जनाएसँगै निजेरमा पनि सैन्य भर्ती बढाइएको छ ।
पश्चिमी अफ्रिकी मुलुक निजेरमा गत जुलाई २६ मा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको हो । पश्चिम अफ्रिकाका बुर्किना फासो, गिनी, माली र चाडपछि निजेरमा पनि सैन्य शासन लागू भएको हो । यी सबै देशहरू कुनै बेला फ्रान्सको उपनिवेश थिए भने पछिल्लो समयसम्म यहाँ उसैको दबदबा थियो । सेनाले सत्ता कब्जा गर्न थालेपछि भने यी देशहरूमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिकाको पकड कमजोर बन्दै गएको छ भने रुसको प्रभाव बढिरहेको छ । विशेषगरी रुसको निजी सैन्य समूह वाग्नरले अफ्रिकामा आफ्नो प्रभाव बढाइरहेको छ ।
निजेर तथा आसपासका देशमा इस्लामिक समूहको आक्रमण बढ्दो छ । अन्य देशका सैन्य शासनले पनि असुरक्षाको कारण देखाउँदै सत्ता कब्जा गरेका थिए । अहिले निजेरमा पनि सेनाले त्यही कारणलाई आफ्नो हतियार बनाएको छ । जिहादी समूहको आक्रमण रोक्न पर्याप्त काम नगरेको आरोप उनीहरूले आफ्ना सहयोगी देश फ्रान्सलाई लगाएका छन् । देशको बिग्रँदो सुरक्षा अवस्था, खराब सामाजिक, आर्थिक स्थितिका कारण सत्ता कब्जा गर्नुपरेको निजेरको सेनाले दाबी गर्दै आएको छ ।
अर्कोतर्फ देशभर फ्रान्सविरोधी भावना बढ्दै जाँदा पनि सेनालाई ‘कु’ गर्न बल मिलेको हो । फ्रान्सले आफ्नो देशका सबै संसाधनको दोहन गरेको निजेरका जनताको बुझाइ छ । ‘कु’ पछि भएको प्रदर्शनमा त्यहाँ रहेको फ्रान्सेली दूतावासमा प्रदर्शनकारीले आक्रमण पनि गरेका थिए । बाजौम सत्तामा आएपछि उनको प्रशासनले फ्रान्सविरोधी प्रदर्शनलाई रोक लगाएको थियो । उनले मालीबाट निकालिएका फ्रान्सका सैन्य बललाई आफ्नो देशमा तैनाथ गर्न पनि स्वीकृति दिएका थिए, जसको विरोध नागरिकस्तरबाट हुँदै आएको थियो ।

 

परदेश

युरोपका लाखौं व्यक्ति अझै इन्टरनेट जडानमा असमर्थ

- कान्तिपुर संवाददाता


पेरिस (कास)– सुन्दा अचम्म लाग्न सक्छ, तर युरोपेली युनियनभित्रैका देशमा बस्ने लाखौं मानिस अझै पनि इन्टरनेट किन्न असमर्थ छन् ।
युरोपेली युनियनको तथ्यांक सार्वजनिक गर्ने निकाय युरोस्टाटले यसै महिना जारी गरेको तथ्यांकअनुसार लाखौं युरोपेली नागरिकहरू गत वर्ष इन्टरनेटमा जडान गर्न असमर्थ भएका थिए । सन् २०२२ मा युरोपेली संघका ४५ करोड बासिन्दामध्ये दुई दशमलव चार प्रतिशतले इन्टरनेट जडान गर्न नसकेको युरोस्टाटले फेला पारेको हो ।
यद्यपि, यो संख्या अघिल्लो वर्षको तुलनामा शून्य दशमलव तीन प्रतिशतले कम भएको हो । गरिबीको जोखिममा रहेका मानिसहरूलाई समेत गणना गर्ने हो भने यो संख्या बढेर ७ दशमलव ६ प्रतिशत पुग्ने युरोस्टाटले जनाएको छ ।
रोमानियामा सन् २०२२ मा गरिबीको जोखिममा रहेका चारमध्ये एक व्यक्ति इन्टरनेट जडान गर्न असमर्थ थिए । त्यसैगरी बुल्गेरियामा २० दशमलव ५ प्रतिशत र हंगेरीमा १६ दशमलव ५ प्रतिशतले इन्टरनेट किन्न सकेका थिएनन् ।
सबैभन्दा कम डेनमार्क र फिनल्यान्डमा एक प्रतिशत थियो । त्यसपछि साइप्रस र लक्जमबर्ग दुवै देशमा साढे एक प्रतिशत थियो । गरिबीको जोखिममा रहेका व्यक्तिहरू राष्ट्रिय औसतको ६० प्रतिशतभन्दा कम आम्दानी भएकाहरू हुन् ।
सन् २०११ मा युरोपमा ७२ प्रतिशतमा इन्टरनेट पहुँच थियो । २०२२ मा यो संख्या बढेर ९३ प्रतिशत पुग्यो । तर, पछिल्लो समय दैनिक खर्चमा वृद्धिका कारण इन्टरनेट जडानमा पहुँच बढाउन समस्या भएको युरोस्टाटले जनाएको छ ।

परदेश

छोटकरी

- कान्तिपुर संवाददाता


रुसको कुर्स्कमा ड्रोन
आक्रमणमा ५ घाइते
मस्को (रासस/सिन्ह्वा)– युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेसनमा आक्रमण गर्दा ५ जना घाइते भएका छन् । कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जानकारीअनुसार ड्रोन रेलवे स्टेसनको छतमा ठोक्किएर आगो लागेको थियो । आक्रमणमा स्टेसनको छत, अग्रभाग र प्लेटफर्ममा क्षति पुगेको छ । आक्रमणपछि भवनमा रहेका सबै ५० यात्रुहरूलाई तुरुन्तै बाहिर निकालिएको गभर्नरले बताएका छन् । अघिल्लो दिन मात्र यस किसिमका ड्रोन आक्रमणहरू मस्को र रोस्तोभ क्षेत्रमा रुसी सेनाले इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर विफल पारेको बताइएको छ ।
पाकिस्तानमा बस र
ट्रक ठोक्किँदा १६ जनाको मृत्यु
इस्लामाबाद (एजेन्सी)— पाकिस्तानको हाफिजावाद जिल्लास्थित पिन्डी भट्टियान नजिकै राजमार्गमा डिजेल ढुवानी गरिरहेको पिकअप ट्रकसँग यात्रुवाहक बस ठोक्किएर आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी अधिकृत फहाद अहमदका अनुसार यात्रुवाहक बस कराचीबाट इस्लामाबादतर्फ जाँदै गर्दा आइतबार अपराह्न ४ः३० मा दुर्घटनामा परेको थियो । दुर्घटनामा दुवै सवारीसाधनका चालकको मृत्यु भएको प्रहरीको हवाला दिँदै पाकिस्तानी सञ्चारमाध्यम डनन्युजले जनाएको छ । साथै दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि फैसलावादस्थित अस्पतालमा लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनास्थलबाट १५ यात्रुलाई भने सकुशल उद्धार गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा बस चालकको लापरबाहीका कारण दुर्घटना भएको बुझिएको छ । साथै घटनाबारे छानबिन गर्न २४ घण्टाभित्र प्रतिवेदन बुझाउने गरी एक समिति पनि बनाइएको छ ।
बंगलादेशको चालु घाटा
तीन अर्ब ३० करोड
ढाका (रासस/सिन्ह्वा)– सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२/०२३ मा बंगलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालु घाटा व्यहोरेको बंगलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् । केन्द्रीय बैंकका एक अधिकारीले सिन्हृवालाई बताएअनुसार तथ्यांकले आर्थिक वर्ष २०२२/०२३ मा तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा चार अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो । यद्यपि रेमिटेन्सले बंगलादेशलाई चालु खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ । अधिकारीका अनुसार आर्थिक वर्ष २०२२/२३ मा १०० भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब एक करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको अवधिमा दक्षिण एसियाली मुलुकको आयात भुक्तानी १५.७६ प्रतिशतले घटेर ६९ अर्ब ५० करोड डलर रहेको छ भने निर्यातबाट हुने आम्दानी ६.२८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३४ करोड डलर पुगेको छ ।

Page 9
अर्थ वाणिज्य

भारतले प्याजमा कर लगाउनेबित्तिकै नेपालमा कालोबजारी !

- राजु चौधरी

(काठमाडौं)
भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी सुरु भएको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो । तर नेपालमा बिचौलियाले मूल्य बढाउन थालिसकेका छन् । कृत्रिम अभाव र कालोबजारी गर्ने तत्त्व सलबलाउन थालेको सरोकारवाला बताउँछन् । भारतबाट आयातै नगरिएको प्याजको मूल्यसमेत व्यापारीले बढाएका छन् ।
‘शनिबार होलसेलमा प्याजको मूल्य प्रतिकिलो ६० देखि ६५ रुपैयाँ थियो, खुद्रा मूल्य ७० देखि ७५ रुपैयाँ चलेको थियो । आइतबार होलसेलमा खरिद मूल्य ८० रुपैयाँ परेको छ, खुद्रामा बिक्री गर्दा ९० देखि एक सय रुपैयाँ पुगेको छ,’ एक खुद्रा व्यापारीले भने, ‘मूल्य किन बढ्यो, जानकार छैनौं । होलसेलमा बढेपछि हामीले पनि बढाएका छौं ।’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा प्याजको मूल्य ३ दिनदेखि स्थिर छ । समितिले आइतबार प्रतिकिलो ६० देखि ६२ रुपैयाँ तोकेको छ । व्यापारीले भने मनोमानी रूपमा मूल्य बढाउन थालेका हुन् ।
‘स्वदेशमा उत्पादन पर्याप्त नहुँदा कालीमाटी तरकारी बजारमा शतप्रतिशत प्याज भारतबाटै आउँछ । भारतले शनिबारदेखि कर लागू गरे पनि शनिबार भन्सार बन्द भएकाले आइतबार त्यति आएन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘अबको दुई–तीन दिनमा मूल्य सामान्य बढ्छ ।’ समितिमा भित्रिने तरकारीले उपत्यकाको करिब ६० देखि ७० प्रतिशत माग धान्छ । कालीमाटीमा दैनिक औसत १०० टन प्याज भित्रिन्छ । शनिबार कार्यालय बन्द हुँदा भन्सार हुने भएन । आइतबार करिब ४० टन भित्रिएको छ । आइतबार कम परिमाणमा भित्रिए पनि व्यापारीहरूसँग प्याज मौज्दात नै छ । तर, भारतले निर्यात कर लगाएको चर्चासँगै यहाँ तत्काल मूल्यवृद्धि गरेर कालोबजारी गरिएको हो ।
भारतले अपनाएको कर नीतिले नेपालमा महँगी बढाए पनि आजको भोलि मूल्य बढ्नु गलत भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । भारतले प्याजमा लगाएको कर नीतिले नजिकिँदै गरेका चाडबाडलाई प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ । बजारमा देखिने यस्तो तत्त्व र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नियामक निकाय तत्काल सक्रिय हुनुपर्ने उनले बताए ।
‘प्रतिकिलो ७० रुपैयाँ पर्ने प्याज बिचौलियाले अस्वाभाविक रूपमा बढाएको विगतकै नजिर छ । अहिले फेरि त्यही हविगत देखियो । खुला बजारका नाममा कालोबजारी हुँदा सरकार बेखबर बनेको छ,’ उनले भने, ‘भारतले आफ्नो आवश्यकतालाई दृष्टिगत गर्दै निकासी नियन्त्रण गरेको छ । तर नेपालले अपुग वस्तु अभाव हुन नदिन कुनै कदम चालेन । बजार मूल्य नियन्त्रण गर्न तत्काल हस्तक्षेप नगरे चाडबाडमा धेरै समस्या हुन्छ ।’
नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । त्यसलगत्तै बजार भाउ अकासिएको थियो । भ्याट लगाएलगत्तै भ्याट खारेजको माग गर्दै केही व्यापारीले प्याज ल्याएनन् । त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका थिए । आयातमै निर्भर प्याजको मूल्य मनोमानी असुल्न थालेका थिए । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले बढेर प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो । महँगी बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही गोदाममा छापा मारेको थियो । कारबाही गर्ने बताएपछि मूल्यमा केही सुधार भएको पनि थियो ।
भारतको ४० प्रतिशत निर्यात करले बजार मूल्यमा थप असर पुगेको छ । अभावमा मौका छोप्ने व्यापारीलाई फाइदा पुग्ने जानकार बताउँछन् । ‘कतिपय व्यापारीले अभावको मौका छोपेका छन्, भारतले लगाएको निर्यात करले ती व्यवसायीलाई दसैं आएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘भारतबाट नआए पनि बजारमा मूल्य बढ्नु त्यसैको उदाहरण हो ।’ बजार अनुगमन गर्ने दर्जनौं निकाय भए पनि अनुगमन हुन नसकेको उनको दाबी छ ।
भारतले लगाएको निर्यात कर र त्यसले पार्न सक्ने मूल्यवृद्धिको अध्ययन गरिने वाणिज्य विभागका प्रबक्ता होमनाथ भट्टराईले बताए । बिचौलियाले थप बढाउन सक्ने मूल्यप्रति विभाग सचेत रहने पनि उनको भनाइ छ ।
नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । ती क्षेत्रमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । यहाँ वार्षिक करिब ३ लाख टन उत्पादन हुन्छ । बाँकी आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको छ ।
नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले भने भारतले लगाएको निर्यात करले त्यति प्रभाव नपर्ने दाबी गरे । ४० प्रतिशत कर लगाएको हिसाब गर्ने हो भने प्रतिकिलोमा १३ रुपैयाँ मात्र बढ्ने उनले जनाए । ‘भारतले निर्यात कर लगाएपछि भारतमा सस्तो पर्छ, त्यहाँ सस्तो हुँदा आयात पनि सस्तो नै हुन्छ,’ उनले भने, ‘खुला सीमाका कारण भारतले निर्यात बन्देज गर्दा पनि समस्या हुँदैन । साइकल, तस्करीलगायत माध्यमबाट आएकै हुन्छ । त्यस कारण मूल्यमा त्यति प्रभाव पर्दैन ।’

अर्थ वाणिज्य

गहुँ र चामलपछि प्याज निर्यातमा भारतको कडाइ

- राजेश मिश्र

(नयाँदिल्ली)
भारतले गहुँ र चामल जस्ता मुख्य खाद्यान्नपछि प्याजको निर्यातमा पनि कडाइको नीति लिएको छ । आन्तरिक बजारमा प्याजको मूल्य बढ्न सक्ने आशंकाबीच भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यात करले देशबाहिर प्याज पठाउने कार्य निरुत्साहित हुने, आन्तरिक बजारमा प्याजको अभाव नहुने र मूल्य स्थिर रहने बुझाइ छ । प्याजमाथि पहिलो पटक निर्यात शुल्क लगाइएको हो ।
गोलभेंडाको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा नै प्रभावित भएका बेला प्याजको मूल्य बढे त्यसले सरकारलाई थप अप्ठ्यारो पार्न सक्ने भएकाले सरकारले बेलैमा सतर्कता अपनाएको देखिन्छ । पछिल्ला दिनमा प्याजको मूल्यमा प्रतिकिलो १९ रुपैयाँसम्म वृद्धि भएको छ । चालु आर्थिक वर्षको अप्रिलदेखि अगस्टसम्म चार महिनामा भारतले १० लाख टन प्याज निर्यात गरेको मिडिया रिपोर्टको तथ्यांक छ ।
३१ डिसेम्बर २०२३ सम्म प्याज निर्यातमा कर लाग्ने निर्णय कार्यान्वयनमा रहने वित्त (अर्थ) मन्त्रालयले जनाएको छ । चाडपर्वको समयलाई दृष्टिगत गरी घरेलु बजारमा प्याजको उपलब्धता बढाइराख्न सरकारले प्याजको निर्यातमा ४० प्रतिशत शुल्क लगाउने निर्णय गरेको न्यूज एजेन्सी पीटीआईसँगको कुराकानीमा उपभोक्ता मामिलाका सचिव रोहितकुमार सिंहले बताएका छन् । पछिल्ला दिनमा प्याज निर्यातमा बढोत्तरी हुन थालेकाले त्यसमाथि अंकुश लगाउन यो कदम चालिएको उनले भनेका छन् ।
सरकारले तीन लाख टन प्याजको बफर स्टक बनाएको छ । नयाँ प्याज बजारमा नआउने बेलासम्म अभाव टार्न बफर स्टकबाट सरकारले बजारमा प्याज पठाएको छ । प्याजको मूल्यवृद्धिले विगतमा सरकारलाई चुनौती आएका छन् । प्याजको मूल्यवृद्धि भारतमा बलियो राजनीतिक मुद्दा पनि बन्दै आएको छ । यसै वर्ष मध्यप्रदेश, छत्तिसगढ र तेलंगानामा विधानसभाको चुनाव हुँदै छ । त्यसलाई दृष्टिगत गरेर पनि सरकारले प्याजको निर्यातमा रोक लगाएको देखिन्छ ।
नेपालमा पनि भारतबाटै ठूलो परिणाममा प्याजको आयात हुने गर्छ । भारतको पछिल्लो निर्णयले नेपालमा प्याजको मूल्यमा वृद्धि हुने सक्ने अनुमान छ । यसअघि नेपाल सरकारले प्याजको आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसले मूल्य बढाएका बेला भारत सरकारको पछिल्लो निर्णयले प्याजको बजारलाई थप प्रभावित बनाउन सक्छ । गत महिना २० जुलाईमा भारतले गैरबासमती चामलको निर्यातमा रोक लगाएको थियो । त्यसअघि गत वर्षदेखि गहुँ निर्यातमा भारतले रोक लगाएकै छ ।

 

अर्थ वाणिज्य

पञ्चेश्वरको डीपीआरमै अलमल

- कमल धिताल

(काठमाडौं)
पन्ध्र दिनभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको परिमार्जित प्रतिवेदन बुझाउन विज्ञ समूहले दिएको निर्देशन भारतीय कम्पनी वाप्कोस लिमिटेडले अटेरी गरेको छ । साउन ५–६ मा नयाँदिल्लीमा बसेको परियोजनाको अन्तिम रूप दिन गठित संयुक्त विज्ञ टोलीले दिएको १५ दिने म्याद करिब १ महिनासम्म बुझाएको छैन । नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी र भारतका तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहराले संयुक्त अध्यक्षता गरेको बैठकले वाप्कोसलाई १५ दिनभित्र परिमाजर्नसहित पेस गर्न निर्देशन दिएको थियो । २१ दिनमा विज्ञ समूहको अर्को बैठक बसेर डीपीआरलाई अन्तिम रूप दिने निर्णय
गरेको थियो ।
मध्य जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा तीन महिनाभित्र पञ्चेश्वरको डीपीआर टुंग्याउने सहमति भएको थियो । दाहालको सोही वाचा पूरा गर्न ‘गभर्निङ बडी’ को आठौं बैठक असार २१ र २२ मा पोखरामा बसेको थियो । उक्त बैठकले विज्ञ समूह बनाएर प्रतिवेदनको कामलाई फाइनल गर्ने सहमति भएको थियो । त्यसपछि साउन ५–६ गते भारतको राजधानी नयाँदिल्लीमा विज्ञ समूहको बैठक बसेको थियो । उक्त बैठकले १५ दिनमा परिमार्जित प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो भने २१ दिनभित्र डीपीआरलाई अन्तिम रूप दिने सहमति भएको थियो ।
तर १५ दिनभित्र बुझाउन विज्ञ समूहले निर्देशन दिए पनि वाप्कोसले परिमार्जित प्रतिवेदन हालसम्म बुझाएको छ । हालसम्म वाप्कोसले परिमार्जित प्रतिवेदन नबुझाएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए । ‘हालसम्म प्रतिवेदन आएको छैन । भारतीय स्वतन्त्रता दिवस भएर पनि होला केही ढिला भएको,’ उनले भने, ‘प्रतिवेदनबारे बुझ्दा केही दिनमा पठाउँछौं भनेका छन् ।’ प्रतिवेदन प्राप्त भएपछि यसको ड्राफ्ट हेरर बैठक बोलाउने उनको भनाइ छ । यसअघिको बैठकले दुवै
पक्षको हित हुने गरी प्रतिवेदन बनाउन निर्देशन दिएको र आगामी बैठकले यसलाई सम्पूर्णता
दिने भेटुवालको भनाइ छ ।
नेपाल–भारतबीच सहमति हुन नसक्दा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना २८ वर्षदेखि अलपत्र छ । ०५२ सालमा भएको महाकाली सन्धि लामो समयसम्म सहमति नहुँदा हालसम्म अगाडि बढेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह रावबीच ०५२ माघ २९ मा महाकाली नदीमा शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर सम्बन्धमा सन्धि भएको थियो ।
महाकाली सन्धिसमेत भनिने उक्त सन्धिपछि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई द्विदेशीय लगानीमा संयुक्त रूपमा निर्माण गर्ने प्रक्रिया सुरु भयो । ६ महिनाभित्र पञ्चेश्वर परियोजनाको डीपीआर टुंगो लगाउने सन्धिमा उल्लेख थियो । तत्कालीन संसद्ले ०५३ असोजमा महाकाली सन्धि अनुमोदन गरी पञ्चेश्वरमा आयोजना बनाउने सम्झौता अनुमोदन गरेको थियो ।
उक्त आयोजनामा पानीको उपयोगका आधारमा दुवैले लगानी गर्ने सहमति भएको थियो, जसअनुसार करिब ६५ प्रतिशत भारतीय र ३५ प्रतिशत नेपाली लगानी रहने उल्लेख थियो । त्यतिखेर ३ अर्ब अमेरिकी डलरमा आयोजना बन्ने अनुमान गरिएको थियो । सम्झौता भएको लामो समय बितिसकेकाले यसको वास्तविक लागत प्रचलित मूल्यमा निकालिएको छैन । पञ्चेश्वर आयोजनामा कति/कति लगानी गर्ने भन्ने सवालमा पनि दुई देशबीच मतैक्य छैन । सिँचाइबाट भारतलाई बढी फाइदा हुने भएकाले उसले नै बढी लगानी गर्नुपर्ने नेपालको अडान छ । तर भारतले भने फाइदाको हिसाब नगरी आयोजनाको कुल लागतमा दुवै देशले सहमतिअनुसारको हिस्सा बेहोर्नुपर्ने अडान राख्दै आएको छ ।

२८ वर्षसम्म टुंगिन नसकेको पञ्चेश्वरलाई फेरि गति दिन पछिल्लो पटक प्रधानमन्त्री दाहालको भ्रमणमा सहमति भएको थियो ।
दाहालको भारत भ्रमणमा दुई देशका प्रधानमन्त्रीबीच पञ्चेश्वरको डीपीआर तीन महिनामा सक्ने सहमति भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा ०७१ सालमा संसद्मा पञ्चेश्वर ५ वर्षभित्र सम्पन्न हुने बताएका थिए । ‘म वाचा गर्छु, एक वर्षभित्र ५ हजार ६ सय मेगावाट उत्पादन
क्षमताको यो परियोजनाको काम सुरु भइसक्नेछ । यसबाट नेपालको कति ठूलो सेवा हुन्छ भनेर तपाईंहरूले कल्पना गर्न पनि सक्नु हुन्न । अहिले नेपालसँग जति बिजुली छ, त्यसको ६ गुणा बढी उत्पादन हुनेछ,’ उनले भनेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र भारतबीच पञ्चेश्वरको डीपीआरसहित करिब १०० भन्दा बढी विषयमा अझै विमति छ । महाकाली सन्धि गर्दा पञ्चेश्वरको डीपीआर ६ महिनाभित्र टुंग्याइसक्ने उल्लेख छ । ०७३ भदौमा प्रधानमन्त्री दाहालकै भारत भ्रमणका क्रममा मोदीसँगको भेटपछि जारी संयुक्त विज्ञप्तिको बुँदा नम्बर १९ मा पञ्चेश्वर जतिसक्दो चाँडो टुंग्याउने उल्लेख छ ।
नेपाल फर्किएपछि दाहालले जारी गरेको विज्ञप्तिमा ‘पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर अध्ययन गरी अन्तिम रूप दिन दुवै पक्षबीच सहमति भएको’ जनाइएको छ । ०७१ साउनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा संसद्मा पञ्चेश्वरको डीपीआर १ वर्षभित्र र आयोजना ५ वर्षमा बनिसक्ने वाचा गरेका थिए । तत्कालीन प्रधानमन्त्री देउवाले ०७४ भदौमा भारत भ्रमणका क्रममा फेरि पञ्चेश्वरको विषय उठाएका थिए । देउवाको भ्रमणका क्रममा डीपीआर १ महिनाभित्र सक्ने सहमति भएको थियो ।
तत्कालीन नेकपा नेतृत्वमा सरकार गठन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पञ्चेश्वरलाई मुख्य एजेन्डा बनाएर ०७४ चैतमा भारत भ्रमणमा गए । सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदी दोस्रो पटक नेपाल भ्रमणमा आउँदा अनौपचारिक रूपमा पञ्चेश्वरको विषय फेरि उठाइयो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसेजेभीएन) को लगानीमा बनिरहेको अरुण–३ जलविद्युत् आयोजनाको शिलान्यास गर्न मोदी ०७५ वैशाखमा नेपाल आउँदा पनि पञ्चेश्वर एजेन्डामा थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले ०७५ वैशाख ३० मा संसद्मा ‘पञ्चेश्वरअन्तर्गत टनकपुरमा १ हजार ३ सय मिटर लिंक रोड बनाउने, शारदा ब्यारेज र महाकालीमा तीन वटा पुल निर्माण गर्ने प्रस्ताव नेपालले राखेको र भारत त्यसमा सकारात्मक देखिएको’ बताएका थिए । ०७७ मंसिरमा भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगला नेपाल भ्रमणमा आउँदा उनले पञ्चेश्वरका विमति टुंग्याउन भारत राजी भएको जनाएका थिए । शृंगलाकै निम्तोपछि ऊर्जा सचिव दिनेशकुमार घिमिरे ०७७ पुसमा भारत गए र २ महिनाभित्र डीपीआर टुंग्याउने सहमति गरे । ०७८ चैतमा पनि तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणमा पञ्चेश्वर अघि बढाउने सहमति भएको थियो । यसअघि गरिएको विस्तृत अध्ययनले यो आयोजना बन्दा २ हजार ९ सय २६ घरधुरीका २२ हजार ७ सय ६५ जनालाई पुनर्वासमा लैजानुपर्ने देखाएको थियो ।

अर्थ वाणिज्य

पूर्वाधार विकास बैंकलाई छुट्टै कम्पनी खोल्न पाउने सुविधा

- कान्तिपुर संवाददाता

(काठमाडौं)
क्षेत्रगत रूपमा पूर्वाधारसम्बन्धी परियोजनाहरूको पहिचान, विश्लेषण, लागत अनुमानलगायत सबै काम गरेर आयोजना विकास गर्नकै लागि पूर्वाधार विकास बैंकले सहायक कम्पनी खोल्न पाउने सुविधा पाएको छ । यसअघि पूर्वाधार विकास बैंकले यस्तो कम्पनी खोल्न पाउने व्यवस्था थिएन । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधनमार्फत पूर्वाधार विकास बैंकहरूलाई यस्तो सुविधा दिएको हो । निर्देशनमा पूर्वाधारसम्बन्धी स्पेसल पर्पोज भेहिकल (एसपीभी) कम्पनीमा लगानीसम्बन्धी व्यवस्था छ ।
‘संस्थाले पूर्वाधारसम्बन्धी परियोजनाहरूको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं लागत अनुमान गरी परियोजना विकास गर्न क्षेत्रगत एसपीभी कम्पनीको स्थापना गर्न सक्नेछ,’ निर्देशनमा भनिएको छ, ‘संस्थाले यसरी स्थापना गरेको एसपीभीमार्फत सञ्चालन हुने परियोजनाहरूमा संस्थाको लगानी रहेसम्म कर्जा प्रवाह गर्न पाइनेछैन ।’ अन्तर्राष्ट्रिय अभ्यासअनुसार पूर्वाधार विकास बैंकले तयारी अवस्थामा रहेको आयोजनामा कर्जा लगानी मात्र गर्ने नभई परियोजना विकासमा पनि सहयोग गर्दै आएका छन् । सोही अभ्यासअनुसार नेपालमा सञ्चालनका रहेको पूर्वाधार विकास बैंकले काभ्रेको पाँचखालमा ‘अर्बन सिटी डेभलमपेन्ट’, सिमरामा विशेष आर्थिक क्षेत्र, चितवनको शक्तिखोरलगायतमा ‘इन्डस्ट्रियल पार्क’ बनाउनेबारे काम अघि बढाएको छ । यसरी पूर्वाधार बैंकको आग्रहमा राष्ट्र बैंकले सहायक कम्पनीमार्फत आयोजना विकास गर्न सकिने सुविधा दिएको हो ।
नीति प्रभावकारी रूपमा कार्यान्वयन भएको अवस्थामा नेपालमा क्षेत्रगत रूपमा पूर्वाधार विकासमा ठूलो योगदान पुग्ने जानकार बताउँछन् । हाल पूर्वाधार विकास बैंक र अरू बैंक तथा वित्तीय संस्थाले पनि तयारी अवस्थामा रहेको आयोजनमा मात्र लगानी गर्छन् । तर उक्त व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वाधार विकास बैंकले खडा गरेको कम्पनीले कुनै नयाँ क्षेत्र पहिचान गरेर त्यसमा पूर्वाधासम्बन्धी परियोजनाको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं लागत अनुमान गरी परियोजना विकास गर्नेछ ।
यसरी तयार आयोजनामा बल्ल बैंक तथा वित्तीय संस्थाले लगानी गर्नेछन् । राष्ट्र बैंकले आयोजना विकासका लागि पूर्वाधार बैंकले छुट्टै कम्पनी खोल्न सक्ने सुविधा दिए पनि पछि त्यही पूर्वाधार बैंक (माउ कम्पनी) ले उक्त आयोजनामा लगानी गर्न नपाउने व्यवस्था छ । यसअनुसार सहायक कम्पनीले सबै काम सकेर आयोजना तयार गरिसकेपछि पूर्वाधार विकास बैंकले अरू बैंकबाट लगानी जुटाउनुपर्छ । उक्त परियोजनामा आफैं लगानी गर्ने भए सहायक कम्पनीको स्वामित्व बिक्री गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकको निर्देशनमा छ । ‘संस्थाले यसरी स्थापना गरेको एसपीभीमार्फत सञ्चालन हुने परियोजनामा संस्थाको लगानी रहेसम्म कर्जा प्रवाह गर्न पाइनेछैन,’ राष्ट्र बैंकले भनेको छ ।
यस्तो व्यवस्थाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा आयोजना विकास गर्न बाटो खोलिदिएको नेपाल पूर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताए । ‘यो राम्रो सुरुवात हो, हामीले कम्तीमा चार क्षेत्रमा आयोजना विकासका लागि काम अघि बढाएका छौं,’ उनले भने, ‘अब ती कामले पूर्णता पाउन नीतिगत सहजता थपिएको छ ।’ राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई जस्तै पूर्वाधार विकास बैंकलाई पनि विभिन्न नीतिगत व्यवस्था जारी गरेको छ । यसअनुसार अब पूर्वाधार विकास बैंकले पनि ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेट्रिङ गराउनुपर्नेछ ।
पूर्वाधार विकास बैंकलाई पनि एकल ग्राहक कर्जा सीमा पनि लागू हुने भएको छ । पूर्वाधार विकास बैंकले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकको समूहलाई प्रदान गर्न सक्ने कर्जाको तोकिएको अधिकतम सीमालाई एकल ग्राहक कर्जा सीमा भनिन्छ । यो पनि नयाँ व्यवस्था हो । कर्जाको गुणस्तर कायम गर्न, कर्जा पुनःसंरचना र पुनर्तालिकीकरण गर्न, ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझिने अवस्थालगायतमा पनि राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि छुट्टै निर्देशन जारी गरेको छ ।

अर्थ वाणिज्य

२१ अंक घट्यो नेप्से

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सेयर बजारको परिसूचक नेप्से आइतबार २१.९ अंक घटेको छ । उक्त अंकको कमीपछि नेप्से २०११ अंकमा कायम भएको छ । कुल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । २९ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो भने ८ को स्थिर रह्यो । यससँगै बजारका सबै उपसमूह तल झरे । बैंकिङ ३, विकास बैंक ३५, फाइनान्स ११, होटल तथा पर्यटन १०६, जलविद्युत् ५०, जीवन बिमा १३४, उत्पादन ८८, निर्जीवन बिमा १७२, अन्य २३ र व्यापार उपसमूह ३६ अंक घटे । फरवार्ड माइक्रोफाइनान्सको मूल्य ४.५ तथा आरएसडीसीको ४ प्रतिशत बढ्यो । अपर स्यांग हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, ज्योति विकास बैंक, सोल्टी होटल र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

अर्थ वाणिज्य

७ महिनामा ५ लाख ३४ हजार पर्यटक

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– पछिल्लो ७ महिनामा नेपालमा ५ लाख ३४ हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को जनवरीदेखि जुलाईसम्म उक्त संख्याका पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । सन् २०२२ वर्षभर कुल ६ लाख १४ हजार पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
बोर्डका अनुसार २०२३ को सात महिनालाई हेर्दा मार्चमा सबैभन्दा धेरै ९९ हजार ४२६ पर्यटक नेपाल आएका छन् । २०२२ को अक्टोबरमा सबैभन्दा धेरै ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए ।
विगतका वर्षलाई हेर्दा अक्टोबर, नोभेम्बरमा पर्यटकको संख्या केही बढी देखिने गरेको छ ।
तसर्थ २०२२ को तुलनामा २०२३ मा पर्यटकको संख्या थप बढ्ने देखिन्छ । सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै ११ लाख ९७ हजार पर्यटक आएको बोर्डको तथ्यांक छ ।

 

Page 10
अर्थ वाणिज्य

बन्दाको भाउ बल्ल किलोको १२ रुपैयाँ

- रमेशचन्द्र अधिकारी

(धनकुटा)
तीन रुपैयाँ प्रतिकिलोमा बन्दा नबिकेर निराश किसानमा यतिबेला केही आशा पलाएको छ । गत महिना प्रतिकिलो तीन रुपैयाँमा नबिकेको बन्दाको भाउ एक सातादेखि उकालिएको हो । यस अवधिमा औसत मूल्य किलोको १२ रुपैयाँ पुगेको छ ।
धनकुटाको छथर जोरपाटी र तेह्रथुमको महालक्ष्मी नगरपालिका क्षेत्रमा बेमौसमी तरकारीको उल्लेख्य उत्पादन हुन्छ । त्यसमा पनि बन्दाको कारोबार बढी हुने स्थानीय किसान बताउँछन् । एक सातादेखि मूल्य बढेकाले गत महिनाको जस्तो बारीमै कुहिएर खेर नजाने स्थानीय किसानको भनाइ छ । शनिबार सिधुवा तथा चित्रेमा १२ रुपैयाँमा किनबेच भएको मुख्य निर्यातकर्ता सिधुवा कृषि सहकारी भण्डारका सञ्चालक मेघेन्द्र गुरुङले जनाए ।
उत्पादन कम तर माग बढेपछि मूल्य उक्लिएको उनको तर्क छ । सिधुवाबाट काँकडभिट्टासम्म गत बिहीबार २४ गाडी र शुक्रबार १९ गाडी बन्दा पठाइयो । काँकडभिट्टाबाट भारततर्फ निर्यात हुन्छ । काँकटभिट्टामा किलोको २५ रुपैयाँसम्म बिक्री भएको गुरुङ बताउँछन् । ‘औसत १९ रुपैयाँ भारुमा बिक्री भयो,’ उनले भने, ‘बन्दाको मूल्य स्थानीय र भारतीय बजारमा पनि बढिरहेको छ ।’
शुक्रबार र शनिबार विराटनगरको रानी भन्सार हुँदै जोगबनी नाकाका लागि सिधुवाबाट १२ गाडी बन्दा निर्यात भएको गुरुङले बताए । प्रतिगाडी बन्दाको औसत १० टन तौल हुन्छ । काँकडभिट्टा नाकाबाट भारतको पश्चिम बंगालमा बन्दाको दैनिक ३५ लाख रुपैयाँसम्मको कारोबार भइरहेको उनले जानकारी दिए । यसमा व्यापारीले औसतमा प्रतिगाडी २० हजारसम्म नाफा गर्छन् । ‘अहिलेको अवस्था नियाल्दा भदौ मध्यसम्ममा प्रतिकिलो ३० रुपैयाँसम्म पुग्ने आकलन गर्न सकिन्छ,’ उनले भने, ‘नियमन गर्ने निकायको अभावका कारण सोचेभन्दा कम मात्र मूल्य निर्धारण हुने गरेको छ ।’
यति बेला निस्किएको अगुवा बन्दा हो । साताभरमा दोब्बर गुनाले मूल्य बढेको महालक्ष्मी नगरपालिका–१ चित्रेका रेवन्तबहादुर अधिकारीले जनाए । २० वर्षदेखि तरकारी कारोबार गर्दै आएका उनले छोटो अवधिमा बन्दाको मूल्यमा उतारचढाव पहिलो पटक थाहा पाएको बताए । मूल्यबारे अग्रिम जानकारी पाउन थालेपछि किसान चनाखो बन्दै गएका छन् । तर तेह्रथुमको लालीगुराँस नगरपालिका–५ डागपाका खलस्तबहादुर खड्काले भने शनिबार पनि ६ रुपैयाँले मात्र बिक्री गरे । बजारमा कायम मूल्य थाहा नहुँदा थोरैमा बचेको उनको भनाइ छ । उनी ७ रोपनी क्षेत्रफलमा बन्दा उत्पादन गर्छन् । ट्र्याक्टरमा राखेर ८ किमि दूरीमा रहेको सिधुवा पुर्‍याउनुपर्छ । खेताला र ट्र्याक्टर भाडालगायत कटाएर आधा मात्र फाइदा हुने उनले बताए । बन्दाको तौल प्रतिट्र्याक्टर ४ टन हुन्छ । ७ ट्र्याक्टर बिक्री गरेको खड्काले जनाए । वार्षिक ५ लाख रुपैयाँ बन्दा बेचेर कमाइ हुने उनको भनाइ छ ।
पछिल्लो मूल्यले केही आशा जगाएको छथर जोरपाटी–२ का किसान लाक्पा शेर्पाले जनाए । अघिल्लो वर्ष यही सिजनमा प्रतिकिलो २० रुपैयाँमा बिक्री गरेको उनले सुनाए । अघिल्लो महिना उनले १२ रोपनी क्षेत्रफलमा लगाएको ४० टन बन्दा नबिकेपछि नष्ट भएको थियो । अघिल्लो महिना स्थानीय पेम्दी शेर्पाको २२ रोपनी क्षेत्रफलमा लगाएको तरकारी पनि बिक्री नहुँदा नोक्सानी बेहोर्नुपरेको थियो ।
गत महिना लाक्पा छेदी शेर्पाले पनि ३२ रोपनी क्षेत्रफलमा लगाएको बन्दा नष्ट भए पनि उनी अब मूल्य पाउनेमा आशावादी छन् । स्थानीयले बन्दाको बीउ एक सय ग्रामको १ हजार रुपैयाँमा खरिद गर्छन् । मल र श्रम सबै जोडेर किलोको कम्तीमा १५–२० रुपैयाँसम्म बिक्री भए फाइदा हुने शेर्पा बताउँछन् । १५ रोपनीमा लगाएको तरकारी बेचेरै अघिल्लो वर्ष ४ लाख रुपैयाँ कमाइ गरेको अगुवा किसान प्रेम दर्लामीले सुनाए । स्थानीय किसानले बेमौसमी तरकारीबाट कम्तीमा २ देखि १० लाख रुपैयाँसम्म भित्र्याउने मार्गादेवी तरकारी सहकारी संस्थाका अध्यक्ष देवकुमार लिम्बूले जनाए ।
भारतका दार्जिलिङ, सिक्किमलगायत क्षेत्रमा अघिल्लो दुई महिना तरकारी बढी उत्पादन भएकाले पनि यहाँको तरकारी निर्यात हुन कठिन भएको सिधुवा कृषि सहकारी भण्डारका अध्यक्ष मेघेन्द्र गुरुङको भनाइ छ । जोगवनी र काँकडभिट्टा हुँदै भारतका खासगरी कोलकाता, असमलगायत मुख्य सहरसम्म यहाँको तरकारी पुग्छ । महालक्ष्मी नगरपालिका र छथर जोरपाटी क्षेत्रबाट मात्रै वार्षिक झन्डै ४० करोड रुपैयाँ बढीको कारोबार हुने गरेको गुरुङले बताए । जिल्लामा बेमौसमी तरकारीको कारोबार उच्च रहने भए पनि यसबारे यकिन तथ्यांक नभएको कृषि ज्ञान केन्द्र्र प्रमुख नगेन्द्र राना मगरले जनाए ।

अर्थ वाणिज्य

बेलहिया हुँदै गोलभेंडा भारत निर्यात

- माधव ढुंगाना

(भैरहवा)
भारतले अस्थायी पैठारी खुला गरेसँगै रूपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट गोलभेंडा निर्यात हुन थालेको छ । यसअघि नेपालबाट गोलभेंडा आयातमा भारतले प्रतिबन्ध लगाएको थियो । भारतमा उत्पादन कमी भएर अभाव हुन थालेपछि अस्थायी पैठारी खुला गरेको हो । यसअघि मुलुकका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा गोलभेंडा भारत गइरहेको थियो ।
गत साउन २८ बाट नेपाली गोलभेंडा निर्यात हुन थालेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । एक सातामा तीन पटक गरेर ७ टन गोलभेंडा भारत निर्यात भएको कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले बताए । ‘यसअघि भन्सार हुँदै नेपाली गोलभेंडा भारत निर्यात भएको थिएन,’ भट्टराईले भने । यसअघि भारतले आयात गर्न प्रतिबन्ध लगाएको तरकारीको सूचीमा गोलभेंडा पनि थियो ।
गत असार २२ मा सीमावर्ती नेपालबाट अवैध रूपमा भारत पुर्‍याएको डेढ टन गोलभेंडासहित ढुवानीमा प्रयोग भएका दुई वटा भारतीय पिकअप गाडीलाई त्यहाँको महाराजगन्ज जिल्लास्थित सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नौतनवा कस्टममा बुझाएको थियो । कस्टमका कर्मचारीले गोलभेंडा नष्ट गरेको र ढुवानीमा प्रयोग भएका पिकअप गाडीलाई कारबाही गरिएको विभागमा पत्राचार गरेका थिए ।
नष्ट गरिएको भनिएको गोलभेंडा भोलिपल्ट असार २३ मा पनि एसएसबीले फेला पारेपछि कस्टमका दुई अधिकृतसहित ६ जना कर्मचारी विभागीय कारबाहीमा परेका थिए । भारतले अस्थायी पैठारी अनुमति दिएपछि यहाँबाट पहिलो पटक गोलभेंडा निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय बेलहियाका प्रमुख कुलदीप घिमिरेले बताए । ‘नेपाली गोलभेंडा भारत निर्यात हुँदा सीमा नाकामा रहेको नेपाली क्वारेन्टिन कार्यालयबाट रोग–कीरा नभएको प्रमाणित गर्नुपर्ने प्रावधान छ,’ घिमिरेले भने, ‘भारत निर्यात हुने नेपाली गोलभेंडामा रोग–कीरा भए/नभएको प्रमाणित गर्ने गरिएको छ ।’
भैरहवास्थित डायमन्ड इन्टरनेसनलले भारतको उत्तर प्रदेशस्थित त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडमार्फत गोलभेंडा निर्यात थालेको हो । गोलभेंडा भारत निर्यात हुँदा सीमावर्ती भारतको भन्सारमा बिनामहसुल शून्य भन्सारमा निर्यात हुने गरेको छ । नेपाली भन्सारमा पनि निर्यात कुनै शुल्क लाग्दैन । सल्यानको कपुरकोटमा उत्पादित गोलभेंडा भैरहवा हुँदै भारत निर्यात गरिएको गोलभेंडा निर्यातकर्ता डायमन्ड इन्टरनेसनलका सञ्चालक सोनु खानले बताए । ‘भारतको लखनऊ र गोरखपुरदेखि ठूलो परिमाणमा नेपाली
गोलभेंडाको माग आएको छ । तर मागको अनुपातमा नेपाली गोलभेंडा पाइएकै छैन,’ उनले भने । हाल नेपाली गोलभेंडा भारतमा करिब १ सय रुपैयाँ भारुमा बिक्री हुने गरेको छ । निर्यात भएको मूल्य यकिन नभए पनि प्रतिकिलो १ सय रुपैयाँ हराहारीमा गइरहेको छ ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


ओरियनसँगको सहकार्यमा एमएस ग्रुपले ल्यायो टर्टल चिप्स
काठमाडौं (कास)– एमएस ग्रुप (मिलेनिया ग्लोबल) ले ओरियनसँग सहकार्यमा ओरियन टर्टल चिप्स सार्वजनिक गरेको छ । स्न्याक टर्टल चिप्सको उत्पादन २०२३ मार्चदेखि सुरु भएको हो । अब नेपाली बजारमा पनि यो उपलब्ध हुने भएको हो । ‘विश्वभर फैलिरहेको केवेभको बीचमा नेपालमा केफुडको बढ्दो लोकप्रियता र मागलाई ध्यानमा राख्दै ओरियनले एमएस ग्रुपसँगको सहकार्य गरेको हो,’ ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टर्टल चिप्स कोरियाली बजारमा धेरै लोकप्रिय खाजा हो ।’ एमएस ग्रुपले अर्को वर्ष ओरियन टर्टल चिप्सका लागि नेपालभर ३५ हजारभन्दा बढी स्टोरमा पुग्ने योजना बनाएको जनाएको छ । केफुड र ओरियनका स्वाद पूरा गर्ने उत्कृष्ट विशेषतासहित नयाँ उत्पादन नेपाली उपभोक्ताका लागि ल्याउन सक्रिय भएर काम गरिरहेको ओरियन इन्डियाका सीईओ तथा एमडी सौरभ साइथले बताए । ओरियन नुनिलो विशेषतामा आउने र यसलाई यसलाई नेपाली उपभोक्ताले रुचाउने मिलेनिया ग्लोबलका एमडी उमंग अग्रवालको विश्वास छ ।
सूर्यज्योति लाइफको उत्कृष्ट अभिकर्ता सम्मान
काठमाडौं (कास)– सूर्यज्योति लाइफ इन्स्यारेन्स कम्पनीले उत्कृष्ट अभिकर्ता सम्मान गरेको छ । देशभरबाट आर्थिक वर्ष ०७९/८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । ‘व्यक्तिगत कोड’ र ‘टिम व्यावसाय’अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मान गरिएको कम्पनीले बताएको छ । सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र सामूहिक व्यवसायअन्तर्गत उपिन्द्रा राई (नयाँ बानेश्वर) लाई अवार्ड, ट्रफी र नगदसहित सम्मान गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘प्रोडक्ट एम्बासडरअन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बिमा योजनामा क्रमशः गौरवकुमार शाही र कमलप्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरियो,’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सीईओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो ।’

Page 11
समाचार

आँखासँगै गलफुलोका संक्रमित बढ्दै

- कान्तिपुर संवाददाता

(ताप्लेजुङ)
आँखा पाक्ने रोगले देशभर संक्रमणको रूप लिइरहेका बेला ताप्लेजुङमा गलफुलो (हाडे) संक्रमण पनि व्यापक रूपमा फैलिरहेको छ । केही दिनयता जिल्ला अस्पतालमा दैनिक दुई/चार जना गलफुलोका बिरामी आउने गरेको डा. महेश गोसाई बताउँछन् । अस्पताल आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । डा. गोसाईका अनुसार मम्प्स नामक भाइरसका कारण हुने गलफुलो सरुवा रोग हो । कानको फेदमा च्यापुको एकापट्टि वा दुवैतर्फ सुन्निनुलाई बोलीचालीमा गलफुलो भन्ने गरिन्छ ।
‘गालाको तल्लो भागमा हुने प्यारोटिड ग्रन्थिलाई भाइरसले भेटेपछि सुन्निने र दुख्ने हुन्छ,’ डा. गोसाईले भने । लक्षण सुरु भएको पाँच दिनसम्म यो संक्रामक हुने भएकाले सावधानी अपनाउन डाक्टरको सल्लाह छ । फुङलिङ नगरपालिका–४ का दिपन घिमिरेले संक्रमण भएको समयमा अधिक दुख्ने, खान गाह्रो र बोल्न अप्ठ्यारो हुनेजस्ता समस्या देखिने बताए । ‘सुरुमा ज्वरो आउने, टाउको दुख्ने जस्तो भयो,’ उनले सुनाए, ‘कानको छेउमा सुनिन थालेपछि दुखाइ पनि धेरै भयो ।’ डाक्टरका अनुसार बच्चा, सुत्केरी, मधुमेह भएका र वृद्धवृद्धामा यो समस्या बढी देखिने गरेको छ । फुङलिङ–२ स्थित तमोर इङ्लिस स्कुलका प्रधानाध्यापक तरुण भारती यति बेला विद्यार्थीमा यो समस्या धेरै रहेको बताउँछन् ।
सिरिजंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जय सिंहले गलफुलो गाउँमा पनि देखिएको बताए । ‘कतिपयले मेडिकलमा किनेर पट्टी पनि लगाउँछन्,’ सिंहले भने, ‘हामीचाहिँ दुखाइ कम गर्ने ब्रुफिन, प्यारासिटामोल, एन्टिबायोटिक सिफारिस गर्छौं ।’ औषधि पसलबाट लगाइने पट्टी प्रभावकारी नहुने सिंहले बताए । गाउँका बुढापाकाका अनुसार गलफुलो कुनै वर्ष अधिक र कुनै वर्ष कम देखिने गर्छ ।
संक्रमित व्यक्तिको थुक, सिँगान, खकार वा नजिक भएमा श्वासप्रश्वासबाट यो सर्ने गर्छ । बिरामीको जुठो खाने वा पानीबाट पनि सर्ने स्वास्थ्यकर्मीको भनाइ छ । कतिपयमा अन्य लक्षण नदेखिए पनि दुखाइ हुने स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्लामा आँखा पाक्ने रोगका बिरामी पनि बढिरहेका छन् । फुङलिङको डिचेन डोङगला आँखा उपचार केन्द्रमा शुक्रबार आएका ५३ जना बिरामीमध्ये ३९ जनामा आँखा पाक्ने समस्या देखिएको थियो । साउन १२ देखि देखिएको आँखा पाक्ने समस्या अझै नियन्त्रणमा नआएको आँखा उपचार केन्द्रका इन्चार्ज काजी गुरुङ बताउँछन् । केन्द्रले साउन १२ देखि ३२ सम्म आँखा पाक्ने समस्या भएका ४ सय ६५ जनाको उपचार गरिसकेको छ । सदरमुकाम बाहिर दोभान बजारबाट पनि सेवा प्रवाह गरिरहेको उक्त संघले दैनिक ८/१० जना आँखा रोगका संक्रमित आउने गरेको जनाएको छ ।

समाचार

‘इन्टर्न’ चिकित्सकको अडानले उपचार सेवा प्रभावित

- कान्तिपुर संवाददाता


सुनसरी (कास)– जीवन निर्बाह भत्ताको विषयमा इन्टर्न चिकित्सकहरूको अडानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा प्रभावित भइरहेको छ । उनीहरू तीन दिनदेखि धर्नामा छन् । प्रतिष्ठानमा फ्याकल्टी प्रोफेसर, सिनियर रेजिडेन्ट (एसआर), जुनियर रेजिडेन्ट (जेआर) पछि एमबीबीएस उत्तीर्ण इन्टर्न चिकित्सकहरूले अग्रजको सुपरभिजनमा उपचार गर्छन् ।
जीवन निर्बाह भत्ता अघिल्लो आर्थिक वर्षको वैशाखदेखि नै लागू हुनुपर्ने माग गर्दै १ सय ४२ जना इन्टर्नहरू बिहान ८ देखि अपराह्न ५ बजेसम्म धर्नामा बस्दा सेवाग्राही मर्कामा परिरहेका छन् । प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले मागअनुसार चालु आवको साउनदेखि बढेकोसहित मासिक २३ हजार रुपैयाँ प्रत्येकको बैंक खातामा पठाइसकिएको बताए । उनले भने, ‘आन्दोलित इन्टर्न चिकित्सकको खातामा रकम पठाइसकेका छौं । अब उहाँहरूलाई सेवामा लाग्न अनुरोध गरेका छौं । प्रतिष्ठानले सबैतिर सर्कुलेसन पनि गरेको छ ।’ यसअघि उनीहरूले मासिक १८ हजार ५ सय रुपैयाँ पाउँदै आएका थिए । इन्टर्न संघर्ष समितिका संयोजक डा. मुहम्मद अफ्रोज खान र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले प्रतिष्ठानको पदाधिकारी तथा व्यवस्थापन पक्षसँग अनौपचारिक वार्ता भइरहेकाले चाँडै सहमतिको बिन्दुमा पुग्ने बताए । प्रतिष्ठानमा दैनिक ३ हजार ५ सयभन्दा बढी उपचारका लागि आउँछन् । पछिल्लो समयमा डेंगीको महामारीले बिरामीको चाप पनि बढेकाले इन्टर्नहरूले काम नगर्दा अरू चिकित्सलाई भार भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले बताए ।

समाचार

आयोग बनाउन सकारात्मक

- कान्तिपुर संवाददाता


संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालले आइतबार बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी घटनाको उच्चस्तरीय
छानबिनका लागि आयोग गठन गर्न सत्तारूढ दल र विपक्षी दलबीच सकारात्मक छलफल भएको छ । सीआईबीको अनुसन्धान प्रतिवेदनपछि गठन गर्ने कि अगाडि नै भन्नेमा सत्तारूढ दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य मतान्तर देखिएको छ ।
‘उच्चस्तरीय छानबिन आयोग नभएसम्म संसद् खुल्दैन भन्ने अडान हाम्रोतर्फबाट दह्रो ढंगले राखेका छौं । त्यसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि समर्थन जनाउनुभएको छ । सीआईबीले माथिल्लो तहसम्म छानबिन गर्न नसक्ने देखिसकेपछि सबैको माग उच्चस्तरीय समिति बन्नुपर्नेमा छ,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘प्रधानमन्त्रीले १५ दिन सीआईबीलाई काम गर्न दिऊँ । बनाउनै पर्ने भए त्यसपछि बनाउँला भन्नुभएको छ । हामीले आयोग बनाउने कुरामा सहमति गरौं, कहिले बनाउने भन्ने कुरा मन्त्रिपरिषद्ले निर्णय गर्दा हुन्छ भनेका छौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् खुलाउने विषयमा छलफलमा ठोस मार्गचित्र फेला नपरेको बताए । ‘प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउनैपर्छ भन्ने अडान राखिरहेको छ । फेरि गृहमन्त्रीज्यूले भइरहेको अनुसन्धानलाई निश्चित समयसम्म पर्खिएर हेरौं भन्नुभएको छ,’ लामिछानेले भने ।
बैठकमा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रहरी अधिकारीप्रति पूर्वाग्रह राखेर सरुवा भएको सवालसमेत उठाएको थियो । ‘शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाउँछौं भन्ने तर तिनै प्रहरी अधिकृतलाई सरुवा गर्ने काम किन भयो ?’ एमाले नेता गिरीले भने, ‘ललिता निवास प्रकरणमा अदालतले नामै तोकेर अनुसन्धानमा ल्याउनुपर्छ भन्दा पनि गठबन्धन बैठक बसेर संरक्षण गर्ने काम भएको छ । यसले सीआईबीलाई स्वतन्त्र काम गर्न नदिएको पुष्टि मात्रै भएको छैन, आम जनतामा व्यापक निराशा छाएको छ ।’
यसैबीच, दलहरूबीच संसद्को गतिरोध अन्त्य गर्न सहमति नभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले आइतबार बिहान बोलाएको सर्वदलीय बैठकमा सहमति नभएपछि राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बिहान ८ बजे शीतल निवास बोलाएका हुन् । राष्ट्रपतिले संसद्को निकासका लागि यसअघि प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । आइतबारै साँझ राष्ट्रपतिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि परामर्श गरेका छन् ।

Page 12
खेलकुद

हङकङ र थाइल्यान्डलाई उपाधि

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– हङकङ र थाइल्यान्डले एसिया यू–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि जितेका छन् । हङकङ पुरुष तथा थाइल्यान्ड महिलामा च्याम्पियन बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पुरुष फाइनलमा हङकङले मलेसियालाई १९–१४ ले पराजित गर्‍यो । चाइनिज ताइपेई तेस्रो भयो । पुरुषमा ७ राष्ट्रले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत चार राष्ट्र सहभागी महिलाको राउन्ड रोविन लिगमा थाइल्यान्ड शीर्ष स्थानमा रहँदै पहिलो भयो । हङकङ दोस्रो तथा मलेसिया तेस्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद
परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे । नेपाली रग्बीको इतिहासमा नेपालमा भएको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यू–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरेको थियो ।

खेलकुद

अन्तरप्रदेश राष्ट्रिय खेलकुद हुने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशले अन्तरप्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ । परिषद्का अध्यक्ष सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तरप्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।
स्थान भने यकिन भइसकेको छैन । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहनेछ । अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ । दोस्रो वाग्मती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने भण्डारीले जानकारी गराए । दोस्रो वाग्मती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।
बैठकले वाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय तह र जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मंसिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ । बैठकमा गत आर्थिक वर्षको समीक्षा पनि भएको थियो ।

खेलकुद

प्रधानमन्त्री र एसिया रग्बीका अध्यक्षबीच छलफल

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ । आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपालमा रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो ।
एसिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै नेपाल रग्बी संघले लगातार दुई वर्ष एसिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको र उक्त आयोजना सरकारको सहयोगबिना सम्भव नभएको कायसले धारणा राखेको खेलकुद परिषद्ले जनाएको छ ।
‘नेपालले पछिल्लो समय रग्बीमा विकास गरेको छ । सरकारको सहयोगबिना त्यो सम्भव थिएन । एसिया रग्बीका तर्फबाट धन्यवाद दिन चाहन्छौं,’ कायसले भने । प्रधानमन्त्री दाहालले नेपाललाई विश्वास गरेर लगातार दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकामा एसिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिए ।
‘एसिया रग्बीले नेपाललाई विश्वास गरेर दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकामा धन्यवाद दिन चाहन्छु । हाम्रो सरकार र मेरो प्राथमिकतामा नै खेलकुद र युवाहरूको विकास गर्नेतर्फ थियो । त्यहीअनुसार नै अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहनेछ,’ भेटमा रहेका नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रधानमन्त्रीको धारणा उल्लेख गर्दै भने । उक्त भेटमा विश्व रग्बी युनियनका एसियाका लागि पार्टनरसिप म्यानेजर रिड्ज्याल स्याट र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ उपस्थिति थिए ।

खेलकुद

श्रीलंका टिम च्याम्पियन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको यू–१५ र यू–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा च्याम्पियनसिपको यू–१५ तर्फ श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्‍यो ।
श्रीलंकाका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे । यस्तै नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे । यसैगरी केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गर्दै उपाधिमा श्रीलंकाको नाम लेखाउन सफल भए । तेस्रो स्थानमा बंगलादेश र भुटान रहे ।
यू–१७ तर्फ श्रीलंकाले बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो सेट बंगलादेशका एसएसएम सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै खेललाई १–० को अवस्थामा पुर्‍याए । दोस्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तेस्रो खेलमा पुनः राजोन मियाँ र उल्लाहको जोडीले श्रीलंकाका हिरूका अलुथ पतबेन्दिगे र वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र प्रियान्तीको जोडीबाट वाकओभर प्राप्त गरेपश्चात् खेल २–२ को बराबरीमा पुग्यो ।
अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका वेरागोडा र लियानागेको जोडीले बंगलादेशका उल्लाह र प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गर्दै ३–२ को अग्रताका साथ श्रीलंकालाई विजेता बनाए । तेस्रो स्थानमा भुटान र नेपाल रहे ।