You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

मन्त्री–कर्मचारीलाई दोष थोपरेर उम्किए उच्चपदस्थ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २ सय ८६ लाई प्रतिवादी बनाएर मुद्दा दायर हुादै
- मातृका दाहाल

(काठमाडौं)
बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका केही ‘हाई प्रोफाइल’ व्यक्ति आफू मातहतका मन्त्री र कर्मचारीलाई दोष थोपरेर उम्किएका छन् । मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट ०४९ देखि ०६९ सम्म १ सय ४३ रोपनीभन्दा बढी जग्गा भूमाफियाले हडपेका थिए । तर, जग्गा हिनामिना हुने गरी निर्णय प्रक्रियामा सामेल उच्च पदस्थ भने दोष अरूलाई पन्छाएर कसुरबाट फुत्किएका हुन् ।
०४९ र ०६२ मा मालपोतबाट किर्ते कागजात खडा गरी करिब १ सय १३ रोपनी जग्गा तत्कालीन भोगाधिकारी सुवर्णशमशेरका परिवारका नाममा पुर्‍याइएको थियो । त्यसपछि बाँकी करिब ३० रोपनी जग्गा ०६६/०६७ र ०६९ को मन्त्रिपरिषद्बाट निर्णय गराएर व्यक्तिले हडपेका थिए । किर्ते कागजातका आधारमा खडा गरिएका प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गर्दा सरकारी जग्गा भूमाफियाका नाममा पुगेको थियो ।
किर्ते कागजात खडा गरी सरकारी जग्गामा मोही कायम गरिएका र भूमाफियालाई सट्टाभर्ना दिने तथा सरकारी जग्गा गुठीका नाममा लगेर नक्कली मोही बनाउने निर्णयमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको संलग्नता देखिए पनि तीनै जना अनुसन्धानकै चरणबाट उम्किएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उनीहरूलाई प्रतिवादी बनाइएको छैन । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा छन् ।
०६६/०६७ मा प्रधानमन्त्री निवास विस्तारका नाममा सरकारी जग्गा भूमाफियालाई सट्टाभर्ना दिने निर्णय नेपाल नेतृत्वको मन्त्रिपरिषद्बाट भएको थियो । सोही निर्णयका आधारमा २५ रोपनी ६ आनाभन्दा बढी जग्गा भूमाफियाले हडपेका थिए । पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा लगेर त्यसमा नक्कली मोही खडा गर्ने ०६९ असोजको मन्त्रिपरिषद्बाट निर्णय हुँदा भट्टराई प्रधानमन्त्री थिए । सोही मन्त्रिपरिषद्बाट भएको निर्णयका आधारमा ४ रोपनी १४ आनाभन्दा बढी जग्गा भूमाफियाका नाममा पुगेको थियो । नेपाल प्रधानमन्त्री हुँदा सट्टाभर्नाको निर्णय प्रक्रियामा सामेल मुख्य सचिव माधव घिमिरे सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता छन् । त्यही मन्त्रिपरिषद्का उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, सचिव दीप बस्न्यात, सहसचिव (पछि सचिवबाट अवकाश) नारायणगोपाल मलेगो, त्यसबेलाका भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, सचिव छविराज पन्तसहितका कर्मचारीलाई किर्ते कागजका आधारमा टिप्पणी उठाउने, सदर गर्ने र मन्त्रिपरिषद्मा पेस गरेको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनु केही दिनअघि मात्रै नेपाल, भट्टराई र पौडेलसँग सीआईबीले ‘कागज’ गराएको थियो । त्यस क्रममा तीनै जना तलबाट प्रक्रियागत रूपमा आएको फायल सदर गरेकाले आफूहरूको यसमा दोष नभएको भन्दै उम्किएका थिए । प्रतिवेदनमा उनीहरूलाई ‘सरकारी साक्षी’ का रूपमा राखिएको छ । भट्टराई प्रधानमन्त्री हुँदा किर्ते कागजातका आधारमा भूमिसुधार मन्त्रालयबाट टिप्पणी उठेर गएको फाइल अध्ययन नगरी तत्कालीन मुख्य सचिव पौडेलले निर्णय प्रक्रिया अघि बढाएका थिए । मन्त्रिपरिषद्बाट त्यही फाइल सामाजिक समिति पुग्यो । समितिले स्वीकृत गरेर मन्त्रिपरिषद्मा पेस गरिएकामा जस्ताको तस्तै अनुमोदन भएको थियो । यो ०६९ असोज १८ को निर्णय हो । तर, यस प्रक्रियामा सामेल पौडेल कारबाहीको दायरामै आएनन् । सरकारी साक्षीका रूपमा कागज गराएर सीआईबीले उनलाई पनि उन्मुक्ति दिएको छ । उनी सत्तारूढ माओवादी निकट मानिन्छन् । माओवादीकै कोटामा उनी चीनका लागि नेपाली राजदूतसमेत भएका थिए ।
हाल सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पनि उन्मुक्ति दिइएको छ । राउतलाई प्रधानमन्त्री दाहालकै जोडबलमा सञ्चार मन्त्रालयमा ल्याइएको स्रोत बताउँछ । सञ्चारमा आउनुअघि उनी कोशी प्रदेशको प्रमुख सचिव थिए । नेपाल प्रधानमन्त्री हुँदा भौतिकमा शाखा अधिकृत रहेका उनले नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णयको टिप्पणी उठाएर सचिवसमक्ष पेस गरेका थिए । उनलाई १० करोडभन्दा बढी बिगो मागदाबीसहित कैद र जरिवानाको राय लेख्ने चरणमा दबाबकै कारण सीआईबी त्यसबाट पछि हटेको स्रोत बताउँछ ।
ललिता निवासको जग्गा टिकिन्छा गुठीमा लैजान मन्त्रिपरिषद्को सामाजिक समितिले ०६९ असोज १४ मा सहमति दिएको थियो । त्यही सहमतिलाई १८ गतेको मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको थियो । समिति अध्यक्ष विजयकुमार गच्छदार सट्टाभर्ना र त्यस निर्णयमा कसुरदार देखिएपछि प्रतिवादीको सूचीमा छन् । तर, सहमति दिने निर्णयमा सामेल समितिका पदेन सदस्य तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा अनुसन्धानको दायरामै आएनन् । उनी सत्तारूढ माओवादीका नेता हुन् । समितिबाट निर्णय हुँदा उपस्थित सचिवहरू धरणीधर खतिवडा, रमेश ढकाल, राजुमानसिंह मल्ल, माधवप्रसाद रेग्मी, सुरेशमान श्रेष्ठ, कृष्णचन्द्र पौडेल, भेषराज शर्मालगायतमाथि अनुसन्धान नै भएन । हाल ढकाल न्यायाधीश छन् । रेग्मी लोक सेवा आयोगका अध्यक्ष हुन् । सीआईबीले सामाजिक समितिका केहीसँग सामान्य सोधपुछ गरे पनि अधिकांश अनुसन्धान र कारबाहीबाट बाहिरै छन् ।
‘म प्रधानमन्त्री हुनुअघि नै प्रधानमन्त्री निवास परिसर विस्तार गुरुयोजना तयार भइसकेको रहेछ । प्रधानमन्त्री भएपछि गुरुयोजनाको विषयमा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएकामा छलफल गरी प्रस्ताव पारित गरेको हो,’ सीआईबीसँग गरिएको कागजमा पूर्वप्रधानमन्त्री नेपालले भनेका छन्, ‘प्रधानमन्त्री निवासको सुरक्षा र सौन्दर्यीकरण गर्ने तथा निवास परिसरबाहिर रहेका सरकारी जग्गासमेतलाई परिसर क्षेत्रभित्र पार्ने कुरा मन्त्रिपरिषद्मा पेस भएको प्रस्तावको आधारमा असल मनसायका साथ गुरुयोजना कार्यान्वयन गर्न स्वीकृति दिएको हो । गुरुयोजना मेरो कार्यकालअघि नै तयार भइसकेको हुँदा सो सम्बन्धमा विस्तृत जानकारी मलाई भएन ।’ तर, उनकै मन्त्रिपरिषद्को निर्णयका आधारमा २५ रोपनीभन्दा बढी जग्गा भूमाफियाले हडपेका थिए । नेपालले भनेका छन्, ‘प्रस्तावमा मोही भनी विभिन्न व्यक्तिको नाम र जग्गाको विवरण उल्लेख गरिएको अनुसूचीसमेत संलग्न थियो, त्यसउपर मन्त्रिपरिषद्बाट निर्णय गर्दा सरकारको हितका लागि गरिएको हो, सोबाहेक अन्य कोही कसैलाई फाइदा पुग्ने हिसाबले गरिएको होइन ।’
पूर्वप्रधानमन्त्री भट्टराईले पनि भूमिव्यवस्था मन्त्रालयबाट प्रक्रियागत रूपमा आएको फाइलका आधारमा निर्णय भएको भन्दै जग्गा हिनामिना गर्ने आफ्नो कुनै नियत र स्वार्थ नभएको दाबी गरेका छन् । ‘मन्त्रिपरिषद्को निर्णय सरकारी जग्गा व्यक्ति विशेषलाई दिने भन्ने होइन । प्रस्तावमा साविक लगतबमोजिम भन्ने व्यहोरा उल्लेख भएकाले सोहीअनुसार निर्णय भएको हो । निर्णयार्थ पेस हुने सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्य सचिवमार्फत मन्त्रिपरिषद्मा पेस हुने भएकाले यसमा कानुनी वा अन्य त्रुटि छैन भन्ने विश्वासमा प्रस्तावउपर निर्णय गरिन्छ,’ सीआईबीसमक्ष भट्टराईले भनेका छन्, ‘यी निर्णयमा मेरो व्यक्तिगत र पारिवारिक स्वार्थ, चाहना वा चासो जोडिएको विषय होइन । दुवै पूर्वप्रधानमन्त्रीले बयानमा कानुनअनुसार छ/छैन भनेर हेर्ने जिम्मा प्रशासन संयन्त्रको जिम्मा भएको बताएका छन् ।
तत्कालीन मुख्य सचिव पौडेलले सचिव र मन्त्रीले मन्त्रिपरिषद्मा आउने फाइल कानुनसम्मत छ/छैन भनेर निर्क्योल गर्नुपर्ने जिकिर गरेका छन् । उनले आफू अभियुक्त भएमा मन्त्रिपरिषद्का सबै सदस्य छानबिनको दायरामा पर्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘सरकारी जग्गा अपचलन भएको विषय धेरै गहिरो अनुसन्धानबाट खुलेको हो । यस्तो विषय मुख्य सचिवमा नियुक्त भएको भोलिपल्ट कसरी थाहा हुन्छ ? उसलाई कानुनी रूपमा नै थाहा पाउनैपर्ने दायित्व भएको भए त्यो मैले जिम्मेवारी लिनैपर्छ, तर त्यसो छैन,’ सीआईबीसँग गरेको कागजमा उनले भनेका छन्, ‘यो विषयमा म अभियुक्त हुन्छु भने मन्त्रिपरिषद्का सदस्यहरू के कारणले छानबिनको दायरामा पर्दैनन् ? उनीहरू त निर्णयकर्ता हुन्, निर्णय रोक्न पनि सक्छन् ।’ मुख्य सचिवको भूमिका मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने र निर्णय प्रमाणीकरण गर्ने मात्रै भएकाले कार्यकारी अधिकार नभएको उनको भनाइ छ ।
सीआईबीको अनुसन्धानमा पञ्चायतकालमा तत्कालीन भोगाधिकारी सुवर्णशमशेरका परिवारलाई मुआब्जा दिएर अधिग्रहण गरिएकोमध्ये ०४९ देखि ०६९ सम्म मालपोत र गुठीदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट संगठित समूह खडा गरी १ सय ४३ रोपनीभन्दा बढी जग्गा हडपिएको निष्कर्ष निकालिएको छ । यो अपराधमा संलग्नमध्ये सीआईबीले हिनामिना भएको जग्गाको मूल्य १८ अर्ब ३५ करोड ९५ लाख कायम गरी २ सय ३८ जनालाई बिगो, कैद र जरिवाना, ४८ जनालाई जग्गा जफत प्रयोजन र २१ जनालाई (मृत्यु भइसकेकाको हकमा) बिगो मात्रै असुल हुने गरी प्रतिवादी बनाउन राय दिएको छ । सीआईबीको रायसहितको प्रतिवेदन गत भदौ ५ मा सरकारी वकिल कार्यालयमा बुझाइएको छ । प्रतिवादीविरुद्ध मुलुकी ऐन–२०२० को किर्तेसम्बन्धी महल र संगठित अपराध निवारण ऐन–२०७० को कसुरमा मुद्दा चलाउन सीआईबीको राय छ । सम्भवतः आइतबार सरकारी वकिल कार्यालयले यो मुद्दाको जिल्ला अदालत काठमाडौंमा अभियोजन गर्नेछ ।
गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका प्रमुख मुकुन्दप्रसाद आचार्यले ०७६ फागुन २ मा सीआईबीमा ललिता निवास परिसरको जग्गा हिनामिना गर्नेविरुद्ध जाहेरी दिएका थिए ।
जाहेरीमा ०४९, ०६२, ०६६/६७ र ०६९ सालका विभिन्न निर्णयबाट हडपिएको १ सय ४३ रोपनी ६ आनाभन्दा बढी जग्गा फिर्ता र जग्गा हिनामिनामा संलग्नलाई कारबाहीको माग थियो । सोही आधारमा सीआईबीबाट गरिएको अनुसन्धान प्रतिवेदनबमोजिम सरकारी वकिल कार्यालयले पूर्वमन्त्री, पूर्वसचिव, भूमाफिया, बिचौलिया र नक्कली मोही र तत्कालीन भोगाधिकारीलाई बिगो, कैद र जरिवाना मागदाबीसहित मुद्दा चलाउन भनिएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा ०७५ फागुन २८ को मन्त्रिपरिषद्ले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनको सुझावका आधारमा जग्गा हिनामिना गर्नेमाथि भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा किर्ते र ठगीमा छानबिन गर्न सीआईबीलाई कार्यादेश दिएको थियो । अख्तियारले मन्त्रिपरिषद्को पत्र र त्यसअघि अख्तियारमै तामेलीमा रहेको उजुरीलाई ब्युँताएर अनुसन्धान गरेको थियो । त्यसको १ वर्षपछि ०७६ माघ २२ मा पूर्वउपप्रधानमन्त्रीसहित १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ विरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अहिले विशेषमा विचाराधीन छ । अख्तियारको अनुसन्धान चरणबाटै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा पूर्वमुख्य सचिव पौडेलसहितका केही उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीले उन्मुक्ति पाएका थिए । सीआईबीबाट गरिएको अनुसन्धानमा पनि उनीहरू कसुरका भागिदार भएनन् ।
पाका राजनीतिज्ञसमेत रहेका पूर्वमन्त्री नवराज सुवेदीले ललिता निवास परिसरको जग्गा पञ्चायतकालमा चलनचल्तीभन्दा बढी मुआब्जा दिएर सुवर्णशमशेरको परिवारबाट अधिग्रहण गरी सरकारी कामकाजमा प्रयोग गर्न ल्याइएको बताएका छन् । पञ्चायतकालमा सुवेदी मन्त्री भएकै बेला सरकारले शमशेरको परिवारलाई मुआब्जा वितरण गरेको थियो । सीआईबीसमक्ष साक्षी कागज गराउँदै उनले ‘जग्गा अधिग्रहण गर्दा जग्गाधनीहरूलाई तत्कालीन अवस्थाको चलनचल्तीको मूल्यभन्दा २०/२५ प्रतिशत बढी रकम मुआब्जा दिई अधिग्रहण गरेको’ उल्लेख गरेका छन् । तर, भूमाफिया र कर्मचारीसँगको सेटिङमा शमशेरका परिवारले गलत दाबीसहितका कागजात खडा गरेर ०४९ मा जग्गा हडपेका थिए । जग्गा हत्याउन सघाएबापत शमशेर परिवारले २२ रोपनीभन्दा बढी जग्गा ९ जना कर्मचारीका परिवार र २ जना बिचौलियाका नाममा बकस पास गरिदिएका थिए । बकस पास गर्दाका कागजबाट पनि जग्गा हत्याउन कर्मचारीले सुरुबाटै संगठित रूपमा किर्ते र जालसाझी गरेको देखिन्छ ।
शमशेर परिवारका सदस्यहरूले कर्मचारी र बिचौलिया गरी ११ जनालाई बकस पास गर्दाका छुट्टाछुट्टै कागजमा भनिएको छ, ‘तपार्इं लिनेले हाम्रो हरेक कामकाजमा रिझाई आएबापत उल्लेखित जग्गा हालैको बकस गरिदिएँ, आफ्नो नाममा दाखिला खारेज गराई भोगचलन गर्नॅहोला ।’ सीआईबीले अनुसन्धानका क्रममा पक्राउ गरेका केही आरोपितले पनि आफूभन्दा माथिका कर्मचारीको आदेश र निर्देशनका काम गरेको बयान दिएका छन् । सरकारी जग्गामा मोही कायम नहुने भन्दै त्यसरी हडपिएको जग्गा फिर्ता हुनुपर्ने स्वीकारोक्ति उनीहरूको छ ।
भूमाफिया किटान गरिएका हिनामिना प्रकरणमा योजनाकार रामकुमार सुवेदीले सरकारी जग्गामा मोही कायम नहुने व्यवस्था रहेको तर आफूलाई मोही जनिने कागज आएपछि मोहीका तर्फबाट वारेस बसी काम गरेको बयानमा उल्लेख गरेका छन् । उनले जग्गा शमेशर परिवार र मोहीका तर्फबाट आफ्नो बनाउन मीनबहादुर गुरुङ मुख्य लगानीकर्ता रहेको स्वीकार गरेका छन् । गुरुङले दिएको बयानमा पनि आफूले सरकारी जग्गा थाहा नपाएको र कानुनबमोजिम देखाएपछि किनेको जिकिर गरेका छन् । तर, अनुसन्धानमा यो समग्र हिनामिनामा गुरुङसहित शोभाकान्त ढकाल, सुवेदी तथा तत्कालीन उपसचिव हुपेन्द्रमणि केसीसहित ८ जनालाई मुख्य योजनाकार किटान गरिएको छ । हिनामिनामा संलग्न रही पक्राउ परेका र हाल फरारसहितलाई प्रतिवादी बनाएर आइतबार सरकारी वकिल कार्यालयले किर्ते र संगठित अपराधका दफासहित अदालतमा मुद्दा दायर गर्दै छ ।

मुख्य पृष्ठ

निजामती विधेयकमा सहसचिवहरूको कैंची

- कलेन्द्र सेजुवाल,ऋषिराम पौड्याल

संसद्मा पेस हुने तयारीमा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदामा केही कर्मचारीले आफ्नो स्वार्थअनुकूल विशिष्ट श्रेणीको तह घटाउन खोजेपछि विवाद बढेको छ ।
लोक सेवा आयोगले सुझावसहित करिब एक साताअघि फिर्ता पठाएको विधेयकको मस्यौदा अहिले प्रधानमन्त्री कार्यालयमा पुगेको छ । खुला प्रतिस्पर्धाबाट आएका करिब डेढ दर्जन सहसचिवले विधेयकमा काटकुट गरी विशिष्ट श्रेणीअन्तर्गत प्रस्तावित अतिरिक्त सचिवको तह घटाएको स्रोतको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असारमा अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमतिपछि परामर्शका लागि विधेयकको मस्यौदा लोक सेवा आयोगमा पठाएको थियो । मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीमा तीन तह (तेह्रौं, चौधौं र पन्ध्रौं) राखिएको छ । तेह्रौं तहमा अतिरिक्त सचिव, चौधौं तहमा सचिव र पन्ध्रौं तहमा मुख्य सचिव प्रस्ताव गरिएको थियो ।
सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवका अनुसार अतिरिक्त सचिवलाई प्रदेशका मन्त्रालयको सचिव र दुई जना सहसचिव दरबन्दी रहने महत्त्वपूर्ण विभागहरूको प्रमुख (महानिर्देशक) बनाउने प्रस्ताव विधेयकमा राखिएको थियो । यसले ठूलो संख्यामा रहेका सहसचिवहरू अतिरिक्त सचिवमा बढुवा हुँदा निजामती सेवामा समस्याका रूपमा रहेको बढुवाको तगारो हट्ने अपेक्षा गरिएको थियो । अतिरिक्त सचिवमा करिब १ सयको दरबन्दी प्रस्ताव गरिएको छ । खुला प्रतिस्पर्धाबाट आएका सहसचिवले अतिरिक्त सचिवको तेह्रौं तह गायब पार्न खोजेको ती उपसचिवले बताए । अतिरिक्त सचिवको तह राख्दा खुला प्रतिस्पर्धाबाट आएकासहितले बढुवाको अवसर पाउँछन् । सचिवको सेवाअवधि पाँच वर्ष तोकिएको छ । यसो गर्दा जागिर अवधि छोट्टिने भएकाले खुलाबाट आएका सहसचिवले विधेयकको मस्यौदामा चलखेल गरेको ती उपसचिवको भनाइ छ ।
‘सहसचिवको सेवा अवधि नतोकिएको हुँदा खुला प्रतिस्पर्धाबाट सहसचिव भएकाले लामो समयसम्म सोही पदमा बस्ने र बढुवा भएर सिधै सचिव हुने योजनाअनुसार सहमति भइसकेको मस्यौदामा चलखेल गरेका हुन्,’ ती उपसचिवले भने, ‘यसले गर्दा बढुवाबाट सहसचिव भएका र एक तह बढुवा हुने त्यसभन्दा तल्लो तहका कर्मचारीलाई अवरोध गरेको छ ।’
सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा सहसचिवस्तरका अधिकृतको सेवा अवधि तोकिए पनि निजामती सेवामा सेवा अवधि तोकिएको छैन । खुला प्रतिस्पर्धाबाट आएका कतिपय सहसचिवहरू करिब डेढ दशकदेखि सोही पदमा छन् । यसले उपसचिवबाट सहसचिव हुने पर्खाइमा रहेका अधिकृतलाई बाटो छेकेको छ । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले सीमित उच्च पदस्थ कर्मचारीको निजी स्वार्थका लागि हजारौं राष्ट्रसेवकको वृत्तिविकासमा अवरोध गर्न खोजिए सह्य नहुने बताए । ‘सरकारले बनाएको उच्चस्तरीय समितिले सबै पक्षसँग बसेर अन्तिम रूप दिएको विधेयकको मस्यौदामा केही कर्मचारीले काँटछाँट गरेको सुन्नमा आएको छ, त्यसो भयो भने हामीलाई मान्य हुँदैन,’ उनले भने, ‘केही कर्मचारीको स्वार्थ पूरा गर्न ठूलो संख्यामा रहेका निजामती सेवाका खरिदार, सुब्बादेखि अधिकृतस्तरका कर्मचारीको वृत्तिविकास र पेसागत जीवनमा सरकारले अन्याय नगरोस् ।’
स्रोतका अनुसार खुला प्रतिस्पर्धाबाट सहसचिव भएका अर्थ मन्त्रालयका धनिराम शर्मा, उत्तरकुमार खत्री, भूपाल बराल, रितेशकुमार शाक्य, सामान्य प्रशासन मन्त्रालयका कमल भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका खुमराज कोइराला, महिला तथा बालबालिका मन्त्रालयका इन्दु घिमिरे र प्रधानमन्त्रीका निजी सचिव अर्जुन भण्डारीलगायत सहसचिवहरूले प्रधानमन्त्री र मुख्य सचिवलाई प्रभावमा पारी आफूअनुकूल व्यवस्था राख्न लगाएका हुन् । विधेयकको मस्यौदालाई लिएर नायब सुब्बाहरूले आन्दोलन गरेपछि सरकारले गत वैशाखमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समिति गठन गरेको थियो । समितिले सबै पक्षसँग छलफल गरी दिएको सुझावका आधारमा तयार भएको मस्यौदा लोक सेवा आयोग हुँदै प्रधानमन्त्री कार्यालय पुगेपछि काँटछाँटमा परेको स्रोतले बतायो । ‘सहसचिवहरूको समूहले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मुख्य सचिवलाई समेत दबाबमा पारेर आफूअनुकूल व्यवस्था गर्न लगाए,’ स्रोतले भन्यो ।
एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहनकुमार घिमिरेले निजामती सेवाका कर्मचारीको बढुवा प्रणालीको दायरा फराकिलो बनाउन विशिष्ट श्रेणीमा तीन तह प्रस्ताव गरिएको बताउँदै निश्चित कर्मचारीको दबाबमा त्यसलाई हटाइए आन्दोलन गर्ने चेतावनी दिए । ‘१५–२० जना कर्मचारीको स्वार्थका लागि हजारौं कर्मचारीलाई मार पर्ने कानुनलाई हामीले स्वीकार्ने कुरा हुँदैन,’ उनले भने, ‘सरकारले विधेयकको मस्यौदा बनाउँदा सरोकारवालासँग सामान्य छलफल पनि गरेको छैन, यसले भोलि थप जटिलता निम्त्याउनेछ ।’
सामान्य प्रशासन मन्त्रालयले सहसचिव (११ औं तह) को पदपूर्ति शतप्रतिशत बढुवाबाट गर्न गरेको प्रस्ताव पनि हटाउन ‘लबिइङ’ भइरहेको छ । निजामती सेवा ऐन–२०४९ मा रिक्त संख्याको १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न पाउने प्रावधान राखिएको छ । सामान्य प्रशासन मन्त्रालयले पठाएको मस्यौदामा उक्त प्रावधान राखिएको छैन । लोक सेवाको परीक्षा पास गरेको भरमा सुरुमै सहसचिव हुँदा कार्यक्षेत्रमा उनीहरूको कार्यक्षमतामाथि पटक–पटक प्रश्न उठेपछि खुला प्रतिस्पर्धाको प्रावधान हटाइएको हो । मन्त्रालयको मस्यौदामा खुलासँगै निजामती सेवामै रहेका अधिकृत वा उपसचिवले जागिरमा प्रवेश गरेको निश्चित अवधिपछि सहसचिवको खुला प्रतिस्पर्धाको परीक्षामा सहभागी हुन पाउने प्रावधान पनि हटाइएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सेवामा प्रवेश गरिसकेका अधिकृत र उपसचिवले प्रतिस्पर्धा गर्न पाउने प्रावधान भने राख्ने तयारी गरिएको छ । उपसचिवहरूले आफूहरूले सहसचिव हुन वर्षौंसम्म फाइल बढुवाको भर पर्नुपर्ने भन्दै मुख्य सचिव वैकुण्ठ अर्यालसमक्ष असन्तुष्टि जनाएका छन् । निजामती सेवामा प्रवेश गरेर अनुभव हासिल गरेकामध्येबाट सहसचिवमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग अधिकृत र उपसचिवले गर्दै आएका छन् ।
सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेशस्तरीय सेवाको पद हुने प्रस्ताव गरेको भए पनि लोक सेवा आयोगले यसलाई संघीय निजामती सेवाकै दरबन्दी हुनुपर्ने सुझाव दिएको छ । लोक सेवा आयोगले संवैधानिक अधिकार प्रयोग गरेर उक्त सुझाव दिएको जनाएको छ । ‘हामीले केन्द्रीय सरकारबाटै प्रमुख प्रशासकीय अधिकृत पठाउन उचित हुने सुझाव दिएका छौं, सरकारले हाम्रो सुझाव मान्नुपर्छ भन्ने छैन,’ लोक सेवा स्रोतले भन्यो, ‘केन्द्रसँगको सम्पर्कका लागि पनि एउटा च्यानल रहँदा राम्रो हुने सोचले यस्तो सुझाव दिएका हौं ।’
मन्त्रालयको मस्यौदामा महानगरपालिकाको अधिकृत तेह्रौं तहसम्म, उपमहानगरपालिकाको अधिकृत बाह्रौं तहसम्म र नगरपालिका तथा गाउँपालिकाको अधिकृत दसौं तहसम्म हुने उल्लेख छ । यद्यपि प्रदेशस्तरीय स्थानीय सेवाको सम्बन्धित सेवा तथा तहको कर्मचारीबाट पूर्ति नभएसम्म नेपाल सरकारले संघीय निजामती सेवाको प्रशासन सेवाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाउने बाटो खुला गरिएको छ । यसरी खटाउँदा महानगरपालिकामा अधिकृत तेह्रौं तहको कर्मचारी, उपमहानगरपालिकामा अधिकृत बाह्रौं तहको कर्मचारी वा त्यस्तो कर्मचारी उपलब्ध नभएमा राजपत्रांकित प्रथम श्रेणी वा अधिकृत एघारौं तहमा ३ वर्ष पूरा गरेको कर्मचारी, नगरपालिकामा अधिकृत दसौं तहको कर्मचारी वा त्यस्तो कर्मचारी उपलब्ध नभएमा राजपत्रांकित द्वितीय श्रेणी वा अधिकृत नवौं तहमा ३ वर्ष पूरा गरेको कर्मचारी, अधिकृत दसौं तहको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको गाउँपालिकामा त्यस्तो कर्मचारी उपलब्ध नभएमा राजपत्रांकित द्वितीय श्रेणी वा अधिकृत नवौं तहमा ३ वर्ष पूरा गरेको कर्मचारी, अधिकृत आठौं तहको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको गाउँपालिकामा त्यस्तो कर्मचारी उपलब्ध नभएमा राजपत्रांकित तृतीय श्रेणी वा अधिकृत सातौं तहमा ३ वर्ष पूरा गरेको कर्मचारी सामान्य प्रशासन मन्त्रालयको मस्यौदामा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत केन्द्रको हुने कि स्थानीय तहको भन्ने विवाद लामो समयदेखि चल्दै आएको छ । संघीयताको मर्मअनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाटै हुनुपर्ने प्रावधान राख्न ‘लबिइङ’ भइरहेको छ । एकथरीले भने प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाटै पठाउनुपर्ने तर्क अघि सार्दै आएका छन् । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७५ मा प्रतिनिधिसभामा दर्ता गरेको निजामती विधेयकमा प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाट पठाउने उल्लेख थियो । त्यतिबेला राज्यव्यवस्था समितिमा छलफलका क्रममा एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका लालबाबु पण्डितसहितको एउटा समूहले सरकारको प्रस्तावमा समर्थन गरेको थियो । तत्कालीन नेकपा (एमालेको एउटा समूह र माओवादी, कांग्रेस) ले प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी स्थानीय तहकै हुनुपर्ने अडान राखेका थिए ।
राज्य व्यवस्था समितिको बहुमतले ०७७ असारमा पारित गरेको विधेयकमा प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाटै हुने प्रावधान राखिएको थियो । उक्त प्रतिवेदन समितिकी तत्कालीन सभापति शशि श्रेष्ठले प्रतिनिधिसभामा पेस गरे पनि छलफल नै नभई नयाँ संसद्का लागि निर्वाचन भएको थियो । अहिले कर्मचारी समायोजन ऐन २०७४ अनुसार कर्मचारीको खटनपटन भइरहेको छ । यसबाट निजामती प्रशासनमा बेथिति बढेको आवाज उठे पनि संघीय ऐन बन्न नसक्दा निकास निस्केको छैन ।
स्थानीय तहको सरोकार भने संघ वा प्रदेश जहाँबाट प्रमुख प्रशासकीय अधिकृत खटाए पनि स्थानीय सरकारप्रति पूर्ण रूपमा जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्ने छ । प्रधानमन्त्री दाहालको अध्यक्षतामा असार १६ मा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले २७ बुँदे धारणा र प्रस्ताव राख्दै संघ वा प्रदेश जसले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि आफ्हूरूलाई आपत्ति नहुने बताएकी थिइन् । उनको प्रस्तावमा प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकारप्रति पूर्ण रूपमा जवाफदेही र उत्तरदायी हुनुपर्ने, कर्मचारीबीचको पद सोपानलाई व्यवस्थित गर्न स्थानीय सरकारमा रहेका अन्य कर्मचारीभन्दा कम्तीमा एक तह माथिको प्रशासन सेवाको अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउनुपर्ने, स्थानीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने, कम्तीमा दुई वर्ष सरुवा नगर्ने र सरुवा गर्नॅपर्दा सम्बन्धित स्थानीय तहको सहमतिका आधारमा मात्र गर्नुपर्ने उल्लेख छ ।
एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष घिमिरेले संघसँग समन्वय गर्नका लागि पनि स्थानीय तहमा संघीय निजामती सेवाका कर्मचारी खटाइनुपर्ने बताए । ‘यसो गर्दा संघीयताको भावनाअनुसार संघ र स्थानीय तहलाई एकापसमा जोड्ने काम हुन्छ,’ उनले भने ।
सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा निजामती सेवामा कार्यरत कर्मचारीको उमेर हद ६० वर्ष तोकिएको छ । यद्यपि उक्त प्रावधान एकै पटक लागू गरिने छैन । एकै पटक गर्दा निवृत्त हुनै लागेका कर्मचारीको अवधि २ वर्षभन्दा बढी समय पुनः जागिरमा रहने अवस्था रहन्छ । त्यसैले उनीहरूभन्दा पछाडि बढुवा हुने तयारीमा रहेकालाई मर्का पर्ने मन्त्रालयको बुझाइ छ । हाल निवृत्त हुने उमेर ५८ वर्ष छ । त्यसैले ६० वर्षेर् प्रावधान कम्तीमा एक वर्षपछि लागू गर्ने तयारी गरिएको छ । ‘अन्य मुलुकमा पनि एक वा डेढ वर्षपछि मात्र यस्तो ऐन लागू गर्ने चलन रहेछ, हाम्रो पनि कुलिङ पिरियड राख्ने प्रस्ताव गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘ऐन बनुन्जेलसम्म कुलिङ पिरियडको अवधि थपघट हुन सक्छ ।’
अहिले ५८ वर्ष पुगेर अवकाश हुनै लागेका कर्मचारी ६० वर्षे प्रावधानका आधारमा थप २ वर्ष पदमा रहँदा पछाडिका कर्मचारीको पदोन्नति रोकिने भएकाले यस्तो प्रस्ताव गरिएको विधेयकको मस्यौदा निर्माणमा संलग्न एक अधिकृतले बताए ।

विधेयकको मस्यौदामा के छ ?
    - संघीय निजामती सेवामा ९ श्रेणी, १५ तह
    - खुला प्रतिस्पर्धाबाट सहसचिव पदपूर्ति बन्द
    - स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाबाट
    - निजामती सेवाका कर्मचारीको उमेर हद ६० वर्ष

मुख्य पृष्ठ

महिला टिमलाई मलेसियामा उपाधि

‘महिला ट्वान्टी–२० सिरिज’ को उपाधि जितेसागै ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य
- राजु घिसिङ

(काठमाडौं)
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले क्वालालम्पुरमा शनिबार सम्पन्न फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै चार देश सम्मिलित ‘महिला ट्वान्टी–२० सिरिज’ को उपाधि जितेको छ । नेपालले दुईभन्दा बढी देश सहभागी प्रतियोगिताको उपाधि पहिलोपल्ट जितेको हो ।
आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ एसिया छनोट खेल्ने तयारीमा आयोजित सिरिज जितेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक सामसनजंग थापाले भने, ‘यो सुरुआतजस्तै हो । हामी अझै राम्रो गर्न सक्छौं । सबैभन्दा महत्त्वपूर्ण ग्लोबल क्वालिफायर (विश्वकप छनोट) मा छनोट हुनु हो । अहिले सबै टिम राम्रा छन्, आ–आफ्नो स्तर बढाइरहेका छन् । त्यसैले महिला क्रिकेटमा केही भन्न सकिँदैन तर यो सिरिज जितेपछि खेलाडीको मनोबल उच्च भएको छ । टिम सेट हुँदै गइरहेको छ । सबैको आत्मविश्वास बढेको छ ।’
क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर फिल्डिङ रोजेको नेपालले प्रभावशाली बलिङ गर्दै हङकङलाई १०१–६ मा सीमित पारेको थियो । लेग स्पिनर खुसी डंगोलले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन् । कविता जोशी र अस्मिना कर्माचार्यले एक–एक विकेट लिए ।
जितका लागि १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर ब्याटर काजल श्रेष्ठलाई शून्यमै गुमायो तर इन्दु बर्माले १९ र सीता रानामगरले १३ रन बनाउँदै ५.३ ओभरमा नेपाललाई ३७–१ को स्थितिमा पुर्‍याएपछि पानी पर्न थाल्यो र पुनः खेल सुचारु हुन सकेन । त्यसैले डकवर्थ लुइस पद्धतिका आधारमा १३ रनको जितसहित नेपाललाई च्याम्पियन घोषणा गरिएको हो । नेपालले समूह चरणमा पनि हङकङलाई ६ विकेटले हराएको थियो । अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेकी इन्दुले प्लेयर अफ द सिरिजको अवार्ड हात पारिन् ।
थापाले प्रशिक्षकका रूपमा टिम सम्हालेको पहिलो प्रतिस्पर्धामै नेपालले गत जेठमा मलेसियाविरुद्ध ट्वान्टी–२० सिरिजको उपाधि जितेको थियो, जुन नेपाली सिनियर महिला टिमको पहिलो उपाधि हो । यसअघि नेपाली महिला टिम एसीसी ट्रफी २००७ (मलेसिया) र आईसीसी वुमेन्स ट्वान्टी–२० वर्ल्डकप २०१७ एसिया क्वालिफायर (हङकङ) मा उपविजेता भएको थियो ।
मलेसियाको बांगीमा भएको ५ खेलको सिरिज नेपालले ३–२ ले कब्जा गरेको थियो । थापाले टिम सम्हालेयता टिममा थुप्रै परिवर्तन भएको छ । यसक्रममै चार देश सम्मिलित सिरिजको ट्रफी जित्दै नेपालले विश्वकप २०२४ एसिया छनोटमा राम्रो गर्न सक्ने सम्भावना देखाएको छ । ‘स्तरीय ब्याटिङ, अनुशासित बलिङ र राम्रो फिल्डिङ गरेर कमीकमजोरी सुधार्ने हो भने छनोटमा हामी राम्रो गर्न सक्छौं,’ प्रशिक्षक थापाले भने, ‘ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य लिएर हिँडेका छौं । हामी सबैको उत्साह बढेको छ ।’

Page 2
म्यागेजिन

स्वादिला व्यञ्जनको सहर नेपालगन्ज

समय परिवर्तनसागै व्यापारको केन्द्र बनेको नेपालगन्जमा स्वादिला व्यञ्जनहरूको गज्जबको व्यापार छ, घुमघाममा आउने पर्यटकका अतिरिक्त स्थानीयले पनि यहााका परिकार कोसेलीका रूपमा बाहिर पठाउाछन्
- रूपा गहतराज

(नेपालगन्ज)
नेपालगन्ज सहरमा पाइने स्वादिला व्यञ्जनहरूले यहाँका रैथानेलाई मात्रै होइन, बर्दियादेखि सीमावर्ती भारतीय बजार रुपैडियासम्मकालाई आकर्षित गरेको छ । चनापुरी होस् कि पकौडी, घमन्जा होस् कि मुखै गुलियो पार्ने रावडी, सबैले यो सहरको स्वादमा स्वाद थपेका छन् । बिरयानी होस् कि सेकुवा, चाट होस् कि हलुवा–पराठा या सोनाहलुवा यिनले यो सहरको स्वादमा रंग भरेका छन् ।
बाहिरबाट नेपालगन्ज आउने स्वाद पारखीको पहिलो गन्तव्य मुबारक बिरयानी होटल बनेको छ । मुस्लिम समुदायको मुख्य परिकार मानिने बिरयानीको स्वादलाई मुबारकले आममानिसको जिब्रोसम्म पुर्‍याएको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी ९ चैत ०७५ मा नेपालगन्ज आउँदा मुबारक बिरयानीको स्वाद लिएको विषयले निकै चर्चा पाएको थियो ।
‘यो मेरो व्यवसाय मात्र होइन, नेपालगन्जलाई चिनाउने जिम्मेवारी पनि हो,’ मुबारक बिरयानीका सञ्चालक मुबारक अलि अन्सारीले भने, ‘स्वादको गुणस्तरमा कुनै सम्झौता गर्दिनँ । तेलदेखि मासु होस् वा चामल, उच्च गुणस्तरकै प्रयोग गर्छु ।’ बिहानदेखि साँझसम्म बिरयानी रेस्टुराँमा भीड देखिन्छ । साँझ परेपछि यो भीड रावडी पसलतिर सर्छ । साँझमा रावडीको व्यापार चल्छ । यहीँ बसेर खानेदेखि रावडी खरिद गरेर परिवार र आफन्तका लागि कोसेलीका रूपमा लैजानेहरू उत्तिकै देखिन्छन् । ६० वर्षअघि भित्रिए पनि बिरयानी नेपालगन्जमा १० वर्षदेखि चर्चित छ । त्यसभन्दा अगाडि यहाँ बिरयानी रेस्टुराँ थिएनन् । नेपालगन्जमा पहिलो पटक होटल मुबारकले नै बिरयानीको स्वाद पस्किन थालेको र ६० वर्षअघि पहिलो पटक आफ्नै पिताले नेपालगन्जमा बिरयानी भित्र्याएको अन्सारीको दाबी छ ।
मुबारकमा प्रत्येक दिन १५ किलो चामल, १५ किलो मासु बिरयानीका लागि खपत हुन्छ । एक दिनमा कम्तीमा ६० जनाले बिरयानी खाने गरेको अन्सारीले बताए । अन्सारी बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खटिन्छन् । बिरयानीका लागि आवश्यक मासु लिन उनी आफैं पुग्छन् । खसी हेरेपछि कटाएर आवश्यकताअनुसार मासुका टुक्रा बनाएर ल्याउँछन् । त्यसमा हाल्ने मसला घरमै बनाउँछन् । मसलाबारे उनले खुलाउन चाहेनन् । पसलमा बिरयानी कबाब, रोटी र मासु तयार गर्छन् ।
०४५ सालमा भारतको बहराइचबाट नेपालगन्ज आएका अब्दुल रहिम हल्वाईले बिरयानीको अर्को रेस्टुराँ खोले । बिरयानी बनाउने पाक्कला बहराइचमै सिकेको उनले बताए । अब्दुल रहिमले ४५ वर्ष रहिम रेस्टुराँ सञ्चालन गरे । उनको निधनपछि सात छोरामध्ये ६ छोराले बिरयानीको व्यापार नै सम्हालेका छन् ।
अब्दुलका साइँला छोरा अब्दुल हकिम हल्वाईले १८ वर्षदेखि धम्बोजी चोकको बागेश्वरी हल रोडमा बिरयानी सेन्टर चलाइरहेका छन् । सुरुमा एक्लैनी रहिम होटल खोलेका थिए । पछि त्यसलाई उनले रहिम मःम बिरयानी सेन्टरमा परिणत गरे । उनको सेन्टरमा बिरयानीका लागि मात्र दैनिक २० किलो मासु खपत हुन्छ । चिकनदेखि मटन बिरयानी बनाउँछन् । अहिले १४ जना कामदार छन् । तर, ६ भाइ नै बिरयानी बनाउन सिपालु छन् । ‘मसला भिन्नै हुँदैन । बनाउने विधिमात्र फरक हो,’ हकिमले भने, ‘बिरयानी बनाउने कालिगडीमा फरक पर्छ ।’ चुलोमा दाउरा बालेर बिरयानी पकाउँदै आएको उनले बताए ।
रावडी, सोनहलुवाजस्ता मिठाईका परिकारका लागि पनि नेपालगन्जको पहिचान छ । नेपालगन्ज बजारको त्रिभुवन चोक त रावडी चोक नै भन्दा हुन्छ । त्रिभुवन चोकमा रावडीका १० वटा पसल छन् । अहिले यहाँका होटलमा समेत रावडी पाइन्छ । रावडीको मूल्य किलोको सात सयदेखि साढे आठ सयसम्म पर्छ । कृष्णभोग मिष्ठान्न भण्डारका सञ्चालक राकेशकुमार गुप्ता आफ्ना जिजुबाजे बाकेलालले दूध घोटेर रावडी बनाएको अझै सम्झन्छन् । दूधको गुणस्तरले रावडीको स्वाद निर्धारण गर्ने उनले बताए । उनी दूध ग्वालाहरूसित खरिद गर्छन् । दैनिक २० देखि ५० लिटर दूध किन्छन् । दिनमा ५ देखि १० किलोसम्म रावडी बिक्री गर्ने गुप्ताले सुनाए । ‘दिनमा २ हजारसम्म बचत हुन्छ,’ उनले भने, ‘यसको व्यापार चिसोभन्दा गर्मी मौसममा बढी हुन्छ ।’ जिल्लाका ग्रामीण क्षेत्रबाट ग्वालाले ल्याएको दूध त्रिभुवन चोक र सदरलाइनका रावडीवालाले खरिद गर्छन् । स्वादिष्ट रावडी बनाउन धेरै तर लाग्ने बाक्लो दूध चाहिन्छ । रावडी बनाउनेहरूले गाईको भन्दा भैंसीकै दूध रोज्ने गरेको गुप्ताको भनाइ छ ।
नेपालगन्जमा तीन पुस्तादेखि रावडी बेच्दै आएका व्यापारी पनि छन् । यहाँको सदरलाइनको राधाकृष्ण मन्दिरमा ४० वर्षदेखि रावडी बेचिरहेको सचिन हल्वाईले बताए । ‘साँझदेखि बेच्न सुरु गर्छौं, कहिलेकाहीं सबैलाई पुर्‍याउन गाह्रो हुन्छ,’ उनले भने, ‘हाम्रो तीन पुस्ताले रावडी नै बेचेको छ । बाहिर कोसेली लैजानेले पहिल्यै अर्डर दिने गरेका छन् ।’ अहिलेसम्म रावडी मिठो लागेन भन्ने मान्छे नभेटिएको उनले बताए । आफूले रावडी किलोको ७ सय रुपैयाँमा बेच्ने गरेको उनले सुनाए । उनको पसलमा दैनिक २० लिटर दूधको रावडी बन्छ ।
त्यस्तै विनोद हल्वाईको रावडीको छुट्टै नाम छ । उनले रावडी बेच्नका लागि भनेर छुट्टै पसल खोलेका छैनन् । गुरुद्वारामा घरकै भुइँ तलामा उनको किराना पसल छ । त्यहीँबाट उनले रावडी पनि बिक्री गर्छन् । उनले बनाउने स्वादिलो रावडीको चर्चा नेपालगन्जमात्र नभएर काठमाडौंसम्म हुने गर्छ । विनोदका बुबाले समेत रावडी बनाउँथे । दिनमा पाँच किलोसम्म रावडी बनाएर बिक्री गर्ने विनोदले सुनाए । रावडी नेपालगन्जको पहिचानसँग जोडिएको यहाँका बासिन्दा बताउँछन् । ‘पहिलो पटक नेपालगन्ज आएको मान्छे त्रिभुवन चोक पुगेकै हुन्छ,’ त्रिभुवन चोक पुगेकी सुजाता बरालले भनिन्, ‘एक पटक रावडीको स्वाद लिएपछि जिब्रोले बिर्सिंदैन ।’
स्वादिष्ट मिठाईको परिकारका रूपमा सोनहलुवा यहाँ विशेष मानिन्छ । यो मिठाई बनाउने कालिगड पाउनसमेत गाह्रो छ । नेपालगन्जका एक–दुईवटा मिठाई पसलले मात्र यो मिठाई बनाउने र बेच्ने गर्छन् । यो मिठाईको परिकार यहाँका सबै पसलमा पाइँदैन । यहाँको वागेश्वरी मन्दिरपछाडिको शिवकुमार द्विवेदीको बागेश्वरी स्विट हाउस सोनहलुवाका लागि चर्चित छ । ‘विशेष अवसरमा मात्र यो बनाइन्छ,’ बागेश्वरी स्विट हाउसका कालिगड राममूर्ति द्विवेदीले भने, ‘खास गरी दीपावलीदेखि यसको बिक्री सुरु हुन्छ । यो परिकार जाडोयाममा मात्रै पाइन्छ ।’
स्वादको सहरका रूपमा रहेको नेपालगन्ज रैथाने खाजाको स्वाद लिएपछि मात्र दिनको काममा खटिन्छ । अनेकन् स्वादको विविधताले यो सहरलाई जीवन्तमात्रै बनाएको छैन, बाहिरबाट आउनेलाई पनि यो सहरले स्वादको सम्झना दिलाएको छ । कपडाका थोक व्यापारी नेपालगन्ज–८, त्रिभुवन चोकका नन्दलाल वैश्य हरेक बिहानको खाजा घर छेवैको ठेलामा खान्छन् । घरसँगै सडक किनारमा रहेका ठेलामा पुगेर पुरी र चनाको झोल खाने उनले सुनाए । ‘३० रुपैयाँको खाजाले मन प्रसन्न बनाउँछ,’ उनले भने, ‘नास्तामा चना, पुरीबाहेक पकौडी र घमन्जा मन पर्छ ।’
त्रिभुवन चोकका विजयकुमार वैश्यले पनि ३० वर्षदेखि घमन्जा, चना र पुरी खाएरै दिनको सुरुवात गर्दै आएको बताए । ‘यति नखाएसम्म चित्तै बुझ्दैन,’ उनले भने, ‘आफूजस्तै नेपालगन्ज बजारका धेरै व्यापारीको नास्ताको ‘मेन्यु’ चनाको झोल, पुरी र घमन्जा बनिरहेको छ ।’
यहाँको अर्को मनै लोभ्याउने परिकार हो, हलुवा–पराठा । नेपालगन्जका मुख्य चोकमा यो परिकार सीमित मात्रामा पाइन्छ । यो परिकार खान नेपालगन्जको चौलिका चोक पुग्नुपर्छ । नेपालगन्ज–रुपैडिया सडक किनारमा फेमस हल्वा पराठाको रेस्टुराँ छ । जुन रेस्टुराँ ४५ वर्षदेखि निरन्तर चलिरहेको छ । यसका मालिक टेढे शेख हुन् । भारतको मुम्बईबाट नेपालगन्ज झरेका उनले आफूले नै हल्वा–पराठाको परिकार भित्र्याएको दाबी गर्छन् । ‘अहिले त दैनिक २० किलो मैदा र सुजी खपत हुन्छ,’ उनले भने, ‘एउटै ताबामा डेढ किलो बराबर मैदाको ठूलो पराठा पाक्छ ।’ यो अरबी परिकार भए पनि यहाँ यसको स्वाद लिनेको कमी नरहेको उनले सुनाए । उनको रेस्टुराँमा बिहान ५ बजेदेखि साँझ ८ बजेसम्मै भीड लाग्छ । पहाडियाहरू यसको स्वाद लिन बढी आउने गरेको कामदार रमजान अलिले बताए । ‘३० रुपैयाँमा १ सय ग्राम हलुवा–पराठा पाइन्छ,’ उनले भने, ‘प्रतिप्लेट ३० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । दैनिक २० किलो हलुवा–पराठा बिक्री हुन्छ ।’ घिउमा बनाइने यो हलुवा–पराठा अन्य पराठाभन्दा निकै ठूलो हुन्छ । फराकिलो तावामा यो पराठा बनाइने गरिन्छ ।
यहाँको त्रिभुवन चोकमा साँझ परेपछि तावामा टकटकको आवाज गुन्जिन्छ । चाट बिक्री गर्ने ठेलाको लाइन लाग्छ । विशेष गरी त्रिभुवन चोक आसपासमा चाट र पानीपुरीको ठूलो व्यापार हुने गरेको छ । नेपालगन्ज आएर चाट खान त्रिभुवन चोक नपुग्ने कमै हुन्छन् । के बूढा, के बच्चा सबैको रोजाइमा चाट पर्छ । नेपालगन्जमा धेरै थरीका चाटको स्वाद लिन पाइने चाट व्यापारी धर्मेन्द्र लखेरले बताए । ‘चाटमा मसलाको जादु नै प्रमुख कुरा हो,’ उनले भने, ‘यहाँ २० वटा चाट र पानीपुरी पसल छन् ।’ सबैभन्दा धेरै बिक्री गर्नेमध्येका धर्मेन्द्रले दैनिक ५ हजार रुपैयाँको कारोबार गर्छन् । दिनमा १० देखि २० किलो आलु खपत गर्छन् । कुन मसला प्रयोग कसरी गर्ने भन्नेमै यसको स्वाद निर्भर हुने उनले बताए । ‘उसिनेको आलुको टिकिया बनाइन्छ, त्यसमा अदुवा, हरियो खुर्सानी, सुकेको खुर्सानीको धूलो, जिरा पाउडर, चाट मसला पाउडर, हरियो धनिया, अमचुर पाउडर र नुन हालेपछि चाट बनिहाल्छ,’ उनले भने, ‘मैले त आफूले प्रयोग गर्ने मसला आफैं सिलौटामा पिसेर बनाउँछु ।’ यहाँको मुख्य परिकारमध्ये घमन्जा पनि एक हो । आलुको पकौडा, खुर्सानी, दहीबडा, आलुको टिकिया, दालमोठ मिलाएर बनाइने घमन्जा प्रतिप्लेट ३० रुपैयाँ पर्छ ।
७२ वर्षीय सन्तोष कनौडिया नेपालगन्ज आएको ५१ वर्ष भयो । उनी कपिलवस्तुबाट व्यापारको सिलसिलामा यहाँ आएका हुन् । ‘प्रायः बजारका कसैको घरमा बिहानको नास्ता पाक्दैन,’ उनले भने, ‘को धनी, को गरिब भन्ने होइन, सबैको रोजाइमा पर्ने भएकाले घमज्जा यहाँ विशेष छ ।’ नेपालगन्जमा घमज्जा पाइने १ सय ५० वटा ठेला रहेका छन् ।
मुलुकमै गर्मी हुने दोस्रो सहरका रूपमा लिइने नेपालगन्जमा लस्सीको व्यापार पनि राम्रै छ । नेपालगन्जका विभिन्न स्थानमा यसको व्यापार भए पनि त्रिभुवन चोकको दही लस्सी विशेष मानिन्छ । त्रिभुवन चोकको बाबा लस्सी पसल यहाँ प्रख्यात छ । उक्त पसलमा दैनिक १० लिटर दहीको लस्सी बनाइन्छ । लस्सीमा रावडी थपिने भएकाले बाक्लो र स्वादिलो हुने पारखीहरूको अनुभव छ । मिठाईका अतिरिक्त स्वादिला मांसाहारी परिकारमा पनि नेपालगन्ज अगाडि छ । यहाँ प्रख्यात रहेको सेकुवा कोहलपुरका ईश्वर सापकोटाले आफूले भित्र्याएको दाबी गर्छन् । ६३ वर्षीय सापकोटाले ०४६ सालमा ‘हाम्रो मःम’ पसल खोलेर सेकुवाका परिकार पस्किन सुरु गरेका हुन् । ‘त्यति बेला दस रुपैयाँ सिल सेकुवा बेच्थें,’ उनले भने, ‘२७ रुपैयाँ प्रतिकिलोमा जिउँदो खसी पाइन्थ्यो ।’ त्यतिबेला दिनमै चार–पाँचवटा खसी काटेर सेकुवा बनाएर बेच्ने गरेको उनले सुनाए । पश्चिम नेपालमै त्यतिबेला सेकुवा विरलै पाइन्थ्यो । ‘सुर्खेत र धनगढीबाट समेत सेकुवा खान मान्छेहरू यहाँ आउँथे,’ उनले भने, ‘रुपैडियाका सबै व्यापारी सेकुवा खान नेपालगन्ज आउँथे ।’
बंगुर र बफ सेकुवाको चलन बढी थियो । खसीको मःम र सेकुवा उनको पसलबाहेक अन्यत्र नपाइने उनले सुनाए । १३ वर्षसम्म निरन्तर सेकुवा बेच्दै आएका सापकोटा अहिले कोहलपुरमा गेस्ट हाउस चलाएर बसेका छन् । ‘आफूले सुरु गरे पनि बिस्तारै धेरै होटल र रेस्टुराँमा सेकुवाको बजार फैलिएको देख्दा खुसी लाग्छ,’ उनले भने, धेरैले रोजगारी पाएका छन्, त्यसैबाट परिवार चलाएका छन् । अहिले सेकुवा नेपालगन्जको परिचय नै बनेको छ ।’
बीपी चौक, धम्बोजी चोक र हस्पिटल लाइनमा दिउँसो ३ बजेदेखि साँझ १० बजेसम्म सेकुवाको बजार नै लाग्ने गर्छ । व्यवसायीहरूका अनुसार एक किलो मासुको ८ सिल सेकुवा तयार गर्न सकिन्छ । अहिले एक सिल सेकुवालाई २ सय रुपैयाँ पर्छ । सिर्जना तास सेन्टरका ईश्वरी गौतमले सेकुवा बेच्न थालेको २५ वर्ष भयो । दिनमा ८/१० किलो मासुको सेकुवा बनाएर बेच्ने गरेको उनले सुनाए । बाँकेको खजुरा–३ का तुलबहादुर कँडेलले नेपालगन्जमा ०५९ देखि ६५ सालसम्म सेकुवा र मःम बेचेको बताए । ‘कुनै बेला दिनमै एकदेखि आठवटासम्म खसी काट्थें,’ उनले भने, ‘फ्राइभन्दा पोलेको मासु बढी रुचाइने हुनाले सेकुवाको बजार राम्रो हुँदै गयो ।’
नेपालगन्ज अवधि संस्कृतिसँग मिसिएको परिकारका लागि उहिल्यैदेखि प्रख्यात रहेको साहित्यकार सनत रेग्मीले बताए । सानो छँदा खाएको नेपालगन्जको आलुदमको स्वाद अझै पनि बिर्सन नसकेको उनले सुनाए । ‘यहाँ आलुदम खुब प्रख्यात थियो,’ उनले भने, ‘आलुभित्र मसला, चनाको दाल र टमाटरलाई मसला मिलाएर बेच्ने गर्थे ।’ स्कुल सुरु भएपछि विद्यार्थीका लागि भनेर दिवा खाजा सुरु गरियो । चार्ट खान बालबालिका निस्कन्थे । पछि त्यसैबाट चार्टको विकास भयो । ‘रामलीलाजस्ता मेलामा चार्टपसल लगाइन्थ्यो,’ ७५ वर्षीय रेग्मीले भने, ‘साँझतिर पनि चाटका पसलहरू खुल्न थाले ।’ कुनै बेला कानपुरबाट टिनको डब्बामा सोनहलुवा ल्याएर खाने चलन रहेको उनले सुनाए । साहित्यकार रेग्मीका अनुसार अवध भनेको ‘वध’ नगर्नु हो । जहाँ हिंसा हुँदैन, त्यहाँको समाज अवध हो । त्यहीकारण पनि नेपालगन्ज धेरै पछिसम्म मिठाई र चाटका परिकारका लागि चिनिने गरेको थियो ।
समय परिवर्तनसँगै नेपालगन्ज व्यापारको केन्द्र बन्न पुग्यो । जहाँ मुस्लिम समुदाय, काठमाडौंका नेवार, सुदूरपश्चिमका पहाडिया सबै आएर बसोबास गर्न थालेका छन् । ‘यहाँको संस्कृतिमा मात्र होइन, खानपान र रहनसहनमा पनि विविधता छ,’ साहित्यकार रेग्मीले भने, ‘खानामा हरेक कल्चरको प्रतिनिधित्व छ । त्यसैले नेपालगन्ज स्वादको सहर हो भन्दा फरक पर्दैन ।’
स्थानीय साहित्यकार ८५ वर्षीय सचिदानन्द चौबे आफूले देखेको र भोगेको नेपालगन्जमा अहिले धेरै परिवर्तन आएको बताउँछन् । ‘पहिला अवध समाजमात्र थियो । अहिले मिश्रित समाज छ,’ उनले भने, ‘समाजको विविधताजस्तै खानपानमा पनि विविधता भित्रिएको छ ।’ पहिला नास्ता भन्ने चलनै नरहेको उनले सुनाए । ‘चना अनि जौको सातु खाएर घरबाट निस्किन्थ्यौं,’ उनले भने, ‘बजारमा पाइने परिकार यिनै मात्र हुन्थे । चना खाएपछि पेट भर्थ्यौं, जौको सातुले पेट सफा गर्थ्यो ।’


‘स्ट्रिट फुडलेन’ को सपना
नेपालगन्जलाई पर्यटनसँग जोड्न स्ट्रिट फुडलेनको अवधारणा ल्याइएको छ । स्थानीय स्वादलाई एकीकृत गरेर एकै ठाउँबाट पस्किने उद्देश्यले स्ट्रिट फुडलेनको अवधारणा ल्याइएको हो । नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा आगामी दिनमा ‘स्ट्रिट फुडलेन’ सञ्चालनमा आउने तयारी छ । ‘नेपालगन्ज उपमहानगरपालिकाले स्ट्रिट फुडलेन क्षेत्रमा सार्वजनिक शौचालय, फोहोरमैला व्यवस्थापन लगायत काममा आवश्यक सहयोग गरिरहेको छ,’ नगर प्रमुख प्रशान्त विष्टले भने, ‘ठाउँको व्यवस्थापन गरिसकेका छौं । अब ठेलाहरूलाई व्यवस्थापन गर्ने योजनामा छौं ।’
व्यापारी एवं नागरिक अगुवा कृष्ण श्रेष्ठ नेपालगन्जको खानाको परिकारमा विविधता रहेकाले यहाँको परिकारको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने तर्क गर्छन् । ‘सबैभन्दा धेरै खानाको कल्चर नेवारी खानामा भेटिन्छ । यसलाई पनि हामी ब्रान्डिङ गर्दै छौं,’ उनले भने, ‘अहिले नेवारी खाजा मात्र पाइने पसलहरू धेरै खुलेका छन् ।’
सबैको साथ–सहयोगमा चाँडै फुडलेन सञ्चालनमा आउने यसका कल्पनाकार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष एवं नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका संयोजक श्रीराम सिग्देलले सुनाए । ‘यो सुरु भएपछि नियमित रूपमा समन्वय र अनुगमन गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग भएका परिकारको प्रचारप्रसार र बजारीकरण गर्न सकेनौं भने हामी पछि पर्छौं ।’

Page 3
समाचार

कोशीमा संविधानमाथि बलमिच्याइँले कांग्रेसभित्र विवाद

मुख्यमन्त्रीको नियुक्ति र विश्वासको प्रस्तावमाथि मतदान गर्ने क्रममा तटस्थ भूमिकामा रहनुपर्ने सभाध्यक्षलाई पदीय ‘दुरुपयोग’ गर्न लगाएर सत्तारूढ दलका मुख्य नेताहरूले संवैधानिक व्यवस्थामाथि ‘बलमिच्याइा’ गरेकामा शेखर कोइरालापक्षीय नेताहरूको असन्तुष्टि
- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
कोशीको सत्ता राजनीतिमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले गलत संवैधानिक अभ्यासको थालनी गरेर ‘बलमिच्याइँ’ गरेकामा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ ।
नेता शेखर कोइराला र उनीपक्षीय नेताहरूले मुख्यमन्त्रीको नियुक्ति र विश्वासको प्रस्तावमाथि मतदान गर्ने क्रममा तटस्थ भूमिकामा रहनुपर्ने सभाध्यक्षलाई पदीय ‘दुरुपयोग’ गर्न लगाएर सत्तारूढ दलका मुख्य नेताहरूले संवैधानिक व्यवस्थामाथि ‘बलमिच्याइँ’ गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् ।
संस्थापन इतरपक्षीय नेताहरूले कांग्रेसकै मुख्यमन्त्री भएकाले यो कदमका पछाडि पार्टी सभापति शेरबहादुर देउवाको भूमिका अहम् रहेकाले यस्ता असंवैधानिक कदमलाई बढावा दिने निर्णयको भारी नबोक्ने बताएका छन् । कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट बहुमत पुर्‍याएर असार २१ मा ‘विवादास्पद’ रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए । आफ्नै पार्टीका नेता मुख्यमन्त्री नियुक्त हुँदा पनि कोइरालाले असंवैधानिक भनेर सार्वजनिक रूपमा विरोध गरेका थिए । असन्तुष्टि मत्थर बनाउन मुख्यमन्त्री थापा पटक–पटक धाए तर कोइरालाले यो व्यक्तिको विषय नभएर प्रणाली र व्यवस्थामाथिको प्रश्न भन्दै आफ्नो कुरा बोल्न छाडेनन् ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापाको मुख्यमन्त्री नियुक्तिविरुद्ध असार २२ मा रिट दर्ता गरे । सर्वोच्चले साउन ११ मा सभामुखको हस्ताक्षरलाई अमान्य ठहर गर्दैर् सरकार गठनको प्रक्रिया उल्टाइदियो । त्यसपछि गठबन्धनले सभामुखबाट गौतमलाई राजीनामा गर्न लगाएर थापालाई नै दोस्रो पटक मुख्यमन्त्री बनायो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत थापाले भदौ ४ मा प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव राखे । सभामुखले राजीनामा गरेपछि सभाध्यक्षको भूमिका निर्बाह गर्नुपर्ने उपसभामुख सिर्जना दनुवार र बैठक सञ्चालन गर्ने अध्यक्षमण्डलका एमाले र राप्रपाका अन्य सांसद बिदामा बसेपछि कांग्रेसका इस्राइल मन्सुरीले सभाध्यक्षको भूमिका निर्बाह गरेका थिए । तर, सत्ता गठबन्धनले मन्सुरीलाई समेत मत हाल्न लगायो ।
सत्तारूढ दलले संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको हुर्मत लिने काम गरेको भन्दै कोइराला थप असन्तुष्ट बनेका छन् । केही दिनअघि कोइराला र महामन्त्री गगन थापाले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्ता गठबन्धनका नेताहरू असंवैधानिक कदम उठाउने र भ्रष्टाचारका काण्डमा संलग्नहरूलाई जोगाउने काम गरेकाले त्यसो नगर्न ध्यानाकर्षण गराएका थिए । ‘नेताहरू एक ठाउँमा बस्ने र आफू अनुकूल निर्णय गर्ने काम कोशी प्रदेश सरकारको गठनदेखि नै भएको छ, पहिलोपल्ट गरेको गल्तीलाई अदालतले बदर गरिसकेपछि दोस्रो पटक त्यस्तै घटना दोहोर्‍याएर नेताहरूले बलमिच्याइँ गरेका छन्,’ कोइरालाले भने, ‘संविधान र अदालतमाथि यस्तो बलमिच्याइँ कहिलेसम्म ?’
कोशीको सत्ता राजनीतिमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच झापा राजनीतिको अन्तरसंघर्षले यो स्थिति निम्त्याएको बुझाइ गठबन्धनका नेताहरूमा छ । मुख्यमन्त्री थापा सिटौलानिकट मात्रै होइन, झापाबाट प्रदेशसभामा निर्वाचित हुन् । ‘सिटौलाले आफ्नो समूहमा रहेका युवा नेता प्रदीप पौडेलसमेत बाहिरिएपछि कमजोर भएको गुटलाई सक्रिय बनाउन जसरी पनि थापालाई मुख्यमन्त्री बनाउन सभापतिलाई ठूलै दबाब दिनुभयो, महाधिवेशनमा साथ दिएकाले सभापतिले पनि सिटौलालाई निषेध गरेर जान सक्नुभएन,’ शेखरनिकट एक नेताले भने, ‘सिटौलाको दबाबमा थापालाई अघि बढाउँदा राप्रपा अध्यक्ष लिङ्देन सकारात्मक बन्न नसकेको हाम्रो अनुमान छ । थापालाई मुख्यमन्त्री बनाएपछि त्यसको जगमा सिटौलाजीले झापामा आफ्नो राजनीतिक उदय खोज्नुभएको होला । त्यसलाई लिङ्देनले पचाउन सक्ने कुरै भएन ।’
सिटौला ०७४ र ०७९ को दुवै निर्वाचनमा झापा–३ बाट लिङ्देनसँग पराजित भएका थिए । उनको समूहबाट संघमा एक जना पनि सांसद छैनन् भने कोशी प्रदेशसभामा थापा मात्रै छन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्ति हुने बेलामा गठबन्धनका नेताहरूले राप्रपालाई सभामुख र एक मन्त्री दिएर सरकारमा सहभागी गराउन प्रयास गरेका थिए । राप्रपा अध्यक्ष लिङ्देनले केन्द्र र सबै प्रदेशमा साझेदारी हुने अवस्थामा बाहेक कोशीमा मात्रै सरकारमा नजाने भन्दै सत्तारूढ दलको प्रस्ताव अस्वीकार गरेका थिए । त्यसैमा कुरा नमिलेपछि ६ सांसद रहेको राप्रपा विपक्षी मोर्चामै छ ।
राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले पनि राप्रपाले कोशीमा मात्रै सरकारमा आउने नीति नलिएकाले समर्थन नपाएको बताए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । सभामुखले राजीनामा दिइसकेपछि सत्ता गठबन्धनमा बहुमत अर्थात् ४७ सांसद छन् तर विपक्षी दलहरूले उपसभामुख र प्रदेशसभा सञ्चालन गर्ने अध्यक्षमण्डलका सदस्यलाई समेत अनुपस्थित गराएपछि सत्ता पक्षलाई बहुमत सिद्ध गर्न अप्ठेरो परेको हो ।
‘दोस्रो पटक बालुवाटारमा प्रधानमन्त्री, शेरबहादुर देउवा, राप्रपा अध्यक्ष, मुख्यमन्त्री र मसमेत उपस्थित भएको बैठकमा व्यक्तिको समस्या हो भने हामी फेर्न पनि तयार छौं, माओवादी वा एकीकृत समाजवादीको हुन्छ भने त्यसका लागि पनि तयार हुन्छौं भनिएकै हो तर लिङ्देनले व्यक्तिको कुरा होइन, संस्थागत रूपमा अहिले कसैलाई समर्थन गर्दैनौं भनेपछि यो कोर्समा राजनीति अघि बढेको हो,’ रायमाझीले भने, ‘तेस्रो पटक एमालेले ठूलो दलको हैसियतले सरकार बनाउला तर उसले पनि विश्वासको मत पाउँदैन । त्यसपछि बन्ने धारा १६८ (५) अन्तर्गतको सरकारमा माओवादी संसदीय दलका नेता मुख्यमन्त्री बन्नुहुन्छ ।’ दुई–दुई पटक विश्वासको मत लिन नसकेपछि फेरि थापालाई नै अघि बढाउने निर्णय नहुने उनले बताए ।
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । अदालतको आदेशबाट सरकार कामचलाउमा पुगेको छ तर यही सरकारले निरन्तरता पाउने कि सरकार गठनको अर्को प्रक्रिया सुरु गर्ने भन्नेबारेमा भदौ १५ देखि हुने पूर्ण सुनुवाइको निर्णयमा भर पर्नेछ ।
संविधानविद् चन्द्रकान्त ज्ञवाली यही सरकारले निरन्तरता पाउने कि संविधानको धारा १६८ (३) अन्तर्गत संसद्को ठूलो दलले सरकार बनाउने भन्ने विकल्प बाँकी नै रहेको बताउँछन् । ‘सभामुख र उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्दा मत हाल्न पाउने कि नपाउने भन्ने मुख्य विवाद हो, उसको मतलाई मान्यता दियो भने यही सरकारले निरन्तरता पाउँछ, ज्येष्ठ सदस्यले गरेको अध्यक्षता पनि सभामुखसरहको हो भनेर मान्यता नदिएमा संविधानको धारा १६८ (३) अन्तर्गतको सरकार गठन हुन्छ,’ उनले भने ।
कांग्रेस प्रचार विभागका प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले उपसभामुखको गैरजिम्मेवारीपनले यो स्थिति उत्पन्न भएको जान्दाजान्दै पनि सत्ता घटक दलहरू अधैर्य देखिँदा समस्या भएको बताए । ‘हामीले प्रक्रियामा हतारो गर्न हुन्थेन, अदालतको आदेश, संविधानको मर्म र प्रक्रियालाई विचार पुर्‍याएर धैर्यसाथ अघि बढ्नुपर्थ्यो, त्यो हुन नसकेको हो,’ उनले भने, ‘सत्तारूढ दलहरूले यसमा विचार पुर्‍याउनैपर्छ ।’
प्रदेशसभाका सांसदसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्याल मुख्यमन्त्री बनाउँदा र विश्वासको मत लिँदा सभाध्यक्षलाई प्रयोग गर्नु गलत भएको बताउँछन् । ‘सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति गर्नु गलत थियो, विश्वासको प्रस्तावमा सभाध्यक्षले मत दिनु पनि गलत थियो,’ उनले भने, ‘सत्ता गठबन्धनले विवेक नपुर्‍याउँदा हामीमाथि प्रश्नैप्रश्न उठेको छ ।’

समाचार

एकता र सद्‍भावको पक्षमा उभिन अपिल

धरानमा हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न मानवअधिकार आयोगले गरायो सरकारको ध्यानाकर्षण
- कान्तिपुर संवाददाता

(काठमाडौं)
प्रधानमन्त्री पुष्पकमल दाहालले एकता र सद्‍भावको पक्षमा उभिन देशवासीलाई अपिल गरेका छन् । धरानमा पछिल्लो समय देखिएको अशान्तिको सन्दर्भमा शनिबार साँझ अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहन आग्रह गरेका हुन् । विमतिहरूलाई संवादको माध्यमबाट राजनीतिक दल, सामाजिक संस्था, धार्मिक समुदायको महत्त्वपूर्ण भूमिका हुने स्मरण गराउँदै उनले समस्या समाधानका लागि धरानवासीसहित सबै नेपालीमा अपिल गरेका छन् ।
‘सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । विमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पुर्‍याउनसमेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्त्वपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सूत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौं,’ अपिलमा भनिएको छ, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्‍भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानवासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु ।’
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्‍याउन नमिल्ने बताएका छन् । सामाजिक, धार्मिक र राजनीतिक सद्भावका लागि अपिल जारी गर्दै उनले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पुर्‍याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन् । ‘परापूर्वकालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।’ नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकूल नहुने उनले उल्लेख गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले पनि धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले स्थानीय सरोकारवालाहरूलाई सामाजिक सद्भाव कायम राख्न र वार्ताको माध्यमबाट समस्या समाधान गर्नसमेत आग्रह गरेको छ । आयोगका सहसचिव टीकाराम पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । ‘एकआपसमा देखिएका विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले संविधानको प्रस्तावनामै विविधताका बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षणको विषय उल्लेख रहेको भन्दै मानवअधिकारको विश्वव्यापी घोषणापत्र तथा विभिन्न महासन्धिका व्यवस्थाबमोजिम समेत सामाजिक सद्भाव कायम राख्नु सबैको दायित्व भएको स्मरण गराएको छ ।

समाचार

निषेधाज्ञाले धरान शान्त

सुनसरी (कास)– सामाजिक सञ्जालमार्फत आह्वान गरिएको प्रदर्शनले सामाजिक सद्भाव खल्बलिन नदिन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण शनिबार धरान उपमहानगर क्षेत्र शान्त रह्यो । धार्मिक समूहले शनिबार धरानमा प्रदर्शनका लागि आह्वान गरेपछि सम्भावित जोखिम रोक्न प्रशासनले शुक्रबार राति १२ बजेदेखि उपमहानगरका २० वटै वडामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । इटहरी क्षेत्रमा शनिबार प्रदर्शन भए पनि धरानमा कुनै किसिमको सभा तथा प्रदर्शन भएन ।
प्रहरी–प्रशासन, राजनीतिक दल, बुद्धिजीवी र पूर्वनगरप्रमुखहरूले विवेकशील भूमिका निर्वाह गर्दा शनिबार धरानमा अप्रिय घटना हुन पाएन । जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले इटहरीमा प्रदर्शन गर्ने समूहले तरहरामा कोणसभा गरेको बताए । शुक्रबार राजनीतिक दल, पूर्वनगरप्रमुखहरू र उपमहानगर प्रमुख हर्कराज राईले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका थिए । धरानका एक दर्जन राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेका थिए भने पूर्वनगरप्रमुखहरूले पनि धरानको सामाजिक सद्भाव खल्बलिन नदिन संयुक्त रूपमा आह्वान गरेका थिए । शुक्रबार नै स्थानीय जातीय संघसंस्था, नागरिक अगुवाहरूले झरीका बीच सद्भाव र्‍याली निकालेर सामाजिक एकताको सन्देश दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धार्मिक–सांस्कृतिक विवादले निम्त्याएको असहज परिस्थितिलाई संवेदनशील भएर भूमिका खेलेको बताइन् । ‘शनिबार दिनभर धरान शान्त रह्यो,’ उनले भनिन्, ‘उपमहानगर क्षेत्रमा राति १२ बजेपछि निषेधाज्ञा हट्छ । प्रशासनले परिस्थितिअनुसार काम गर्नेछ ।’
धरानका पूर्वनगरप्रमुख कुमारबहादुर कार्कीले धार्मिक–सांस्कृतिक पक्षका नाममा भ्रम सिर्जना गरेर सद्भाव भड्काउन आउनेलाई परास्त गर्न धरानवासीले एकजुट हुनुपर्ने र भएर देखाएको बताए । महेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुखसमेत रहेका नागरिक अगुवा कार्कीले भने, ‘धरानलाई एक बनाउन, सबै पक्षका धर्म, संस्कृति संरक्षण गर्न र कसैको उक्साहटमा लाग्न हुँदैन भनेर सबै पक्षसँग कुरा भइरहेको छ । जसले सद्भाव भड्काउने खेल खेल्न खोजेका छन्, धरानको हकमा सक्दैनन् ।’
उनले स्थापनाकालदेखि नै सबै जाति–धार्मिक समुदायको साझा बगैंचा भएकाले कसैले पनि बाहिरबाट भत्काउने कोसिस गरे धरानको एकताले निष्क्रिय पार्नेमा विश्वस्त रहेको बताए ।

समाचार

जनमतमा ‘राइट टु रिकल’ माथि प्रश्न

- कलेन्द्र सेजुवाल

(काठमाडौं)
जनमत पार्टीले नेपालमै पहिलो पटक गरेको जनप्रतिनिधिको अनुमोदन रेटिङ मतदान (राइट टु रिकल) माथि पार्टीभित्रै प्रश्न उब्जिएको छ । जनमतले पार्टीबाट निर्वाचित १६ जना प्रदेश सांसदको भदौ २ मा मतदानमार्फत मूल्यांकन गरेको थियो । विधान र घोषणापत्रमा ‘राइट टु रिकल’ को व्यवस्था भए पनि स्पष्ट वैधानिक प्रक्रियाबिनै मतदान गरिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएपछि परिणामको कार्यान्वयन अन्योलमा परेको छ ।
पार्टी विधानको धारा १२ (झ) मा निर्वाचित पदाधिकारीले चित्तबुझ्दो काम नगरेमा र पार्टीको हितविपरीत काम गरेमा फिर्ता बोलाउने अधिकार मतदातालाई हुने र यस्तो अधिकारको कार्यान्वयन निर्वाचन कार्यविधिमा तोकेबमोजिम हुने उल्लेख छ । त्यसैगरी ‘जनमत पार्टीको घोषणापत्र–२०७५’ को ‘ख’ मा लोकतन्त्रलाई थप जिम्मेवार बनाउन जनतालाई सूचनाको अधिकार, ‘राइट टु रिकल’ र ‘नो भोट’को अधिकारसमेत अभ्यासमा ल्याइने उल्लेख छ ।
पार्टी प्रवक्ता शरद यादवले विधानमा मतदातालाई फिर्ता बोलाउने अधिकार हुने उल्लेख भए पनि पहिलो चरणमा कार्यकर्ताबाट सुरुवात गरिएको बताए । ‘संविधानले राइट टु रिकलको व्यवस्था गरेको छैन, तर हाम्रो विधानमा मतदातालाई यस्तो अधिकार हुने व्यवस्था छ,’ उनले भने, ‘हामी सुरुवाती चरणमा नयाँ अभ्यास गरौं भन्ने हेतुले कार्यकर्तामा गएका हौं ।’ यसको आधारमा सांसदलाई फिर्ता बोलाउने वा कारबाही भने नगरिने उनले बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायित्व बोध गराउन पहिलो वर्षमै यस्तो मतदान गरिएको उनको भनाइ छ ।
भदौ २ मा भएको मतदानमा प्रदेश सांसदले प्रतिनिधित्व गर्ने क्षेत्रमा पार्टीबाट निर्वाचित वडाध्यक्ष, वडाध्यक्षका प्रत्याशी, पालिकाका पदाधिकारी, पालिकाका प्रत्याशी, जिल्ला परिषद्का सदस्य, प्रदेश कमिटीका सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरू मतदाता थिए । पार्टीको विधानमा राइट टु रिकलको अधिकार कार्यान्वयन निर्वाचन कार्यविधिमा तोकेबमोजिम हुने उल्लेख भए पनि कार्यविधि नबनाई आन्तरिक सर्कुलरबाट मतदाता तोकिएको केन्द्रीय सचिव विश्वेश्वरप्रसाद (बीपी) साहले बताए । अर्कोतर्फ समानुपातिक सांसदको हकमा यो व्यवस्था अस्वाभाविक र विधानविपरीत भएको जनमतका एक समानुपातिक प्रदेश सांसदले बताए । ‘पहिलो कुरा त राइट टु रिकलको अधिकार निर्वाचित गर्ने जनतालाई हुनुपर्छ भन्ने विधानमै लेखिएको छ, त्यसमाथि हामी प्रदेशसभा सांसदहरूको क्षेत्र सिंगै प्रदेश हो,’ मधेश प्रदेशका ती सांसदले भने, ‘प्रत्यक्षतर्फका सांसदका लागि व्यावहारिक भए पनि यसले हामीलाई हतोत्साही गर्ने काम गरेको छ, जनतामा पनि भ्रम सिर्जना गरेको छ ।’ निर्वाचित भएको एक वर्ष नपुग्दै कुनै पनि जनप्रतिनिधिको कामको मूल्यांकन हुन नसक्ने उनले बताए ।
मधेश प्रदेशमा जनमतबाट बबिता राउत, अनिताकुमारी साह, चन्दनकुमार सिंह, वसन्तकुमार कुशवाहा, रञ्जुकुमारी मण्डल, भाग्यश्रीकुमारी चौधरी र हसिना खातुन गरी ७ जना समानुपातिक र सकिल अलि मियाँ, सतिशकुमार सिंह, महेशप्रसाद यादव, शम्भु साह, त्रिभुवन साह र सञ्जयकुमार यादव गरी ६ जना प्रत्यक्ष सांसद छन् । त्यसैगरी लुम्बिनी प्रदेशबाट प्रत्यक्षतर्फ चन्द्रकेश गुप्ता र समानुपातिकतर्फ गीता गुरुङ र सुमन रायमाझी प्रदेशसभा सदस्य छन् । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्रीसमेत रहेका पार्टी महासचिव चन्दनकुमार सिंहले ‘राइट टु रिकल’ को अभ्यास स्वागतयोग्य भए पनि यसको प्रयोग अवैज्ञानिक र प्रक्रियासम्मत नहुँदा भ्रम फैलिएको बताउँछन् । ‘म प्रदेशको मन्त्री भएको १५ दिनमै राइट टु रिकलका लागि मतदान भयो, यो अवधिमा मैले के काम गर्न सक्छु ?’ समानुपातिक सांसद रहेका उनले भने, ‘त्यसमाथि मन्त्री हुने प्रक्रियामा असन्तुष्ट केही नेताका साथै विगतमा पार्टीको जिम्मेवारीमा रहेका र अहिले पार्टी छोडिसकेकाले पनि मेराविरुद्ध मतदान गरे ।’
भदौ २ को मतदानमा मन्त्री सिंहसहित त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी र अनिताकुमारी साहको विपक्षमा बढी मत खसेको थियो । साउन १५ को मन्त्रिपरिषद् पुनर्गठनमा जनमत पार्टीले मधेश सरकारबाट वसन्तकुमार कुशवाहालाई फिर्ता बोलाएर सिंहलाई पठाएको थियो । सोही दिन बिनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवलाई पनि जनमतले फिर्ता बोलाएको थियो । उक्त घटनाले कुशवाहा र सिंहबीच सम्बन्ध टकरावपूर्ण बनेको जनमतका एक प्रदेश सांसदले बताए । ‘उहाँहरूबीचको द्वन्द्व सतहमा आइसकेको छैन तर भित्री रूपमा निकै टकरावपूर्ण बनिसकेको छ,’ ती सांसदले भने, ‘सायद यसको असर पनि राइट टु रिकलको मतदानमा परेको हुन सक्छ ।’
जनमत पार्टीभित्र महामन्त्री सिंह पार्टी अध्यक्ष सीके राउतका सुरुवातीकालदेखिका विश्वासपात्र मानिन्छन् । राउत नेतृत्वको आन्दोलनका क्रममा सिंह पनि पटक–पटक प्रहरीबाट पक्राउ परेका थिए । इन्जिनियर पृष्ठभूमिका कुशवाहा भने ‘पर्दा पछाडिबाट’ राउतको ‘मुभमेन्ट’ लाई सहयोग गर्थे । केन्द्रीय उपाध्यक्षसमेत रहेका कुशवाहासहित केन्द्रीय सचिव बीपी साहलगायत नेताहरू ‘राइट टु रिकल’ मा भएको मत परिणामअनुसार ५० प्रतिशत मत ल्याउन नसक्ने सांसदलाई फिर्ता बोलाउने पक्षमा छन् । सुरुमा ४ जना सांसदलाई पार्टीले फिर्ता बोलाउने अभिव्यक्ति दिएका सचिव साहले यससम्बन्धी निर्णय सचिवालय बैठकले गर्ने बताए । ‘उहाँहरूलाई फिर्ता बोलाउने कि स्पष्टीकरण लिने वा सचेत गराउने भन्ने निर्णय अब बस्ने सचिवालय बैठकले गर्नेछ,’ उनले भने ।
प्रवक्ता यादव भने परीक्षणका रूपमा गरिएको मतदानका आधारमा जनप्रतिनिधिलाई कमजोरी सच्याउन निर्देशन दिनुका साथै प्रशिक्षणको व्यवस्था मिलाइने बताउँछन् । भदौ २ को मतदानमा मधेश प्रदेशका सकिल अलि मियाँ, रञ्जुकुमारी मण्डल, सतिशकुमार सिंह, महेशप्रसाद यादव, शम्भु साह, बबिताकुमारी इशर, सञ्जयकुमार यादव, त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी, चन्दनकुमार सिंह, अनिताकुमारी साह, हसिना खातुन र वसन्तकुमार कुशवाहा, लुम्बिनी प्रदेशका चन्द्रकेश गुप्ता, गीता गुरुङ र सुमन रायमाझीको अनुमोदन रेटिङ मतदान भएको थियो ।

Page 4
युवा ग्यालरी

सोक्लामा रक क्लाइम्बिङ

पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको सहयोगमा भीमेश्वर नगरपालिका–२ स्थित सोक्लामा रक क्लाइम्बिङको पूर्वाधार तयार भएको हो । चार सय मिटर अग्लो बाादर लड्ने भीरमा रक क्लाइम्बिङका लागि ३ वटा रुट तयार पारिएका छन् ।
- केदार शिवाकोटी

(दोलखा)
पदयात्राका लागि प्रख्यात दोलखा जिल्ला पछिल्लो समय साहसिक खेलहरूको गन्तव्यका रूपमा पनि स्थापित हुन थालको छ । खासगरी युवा पुस्तालाई साहसिक खेलमा आकर्षित गरी पर्यटनलाई विस्तार गर्नका लागि जिल्लाका युवावर्ग नै तातेका छन् । जसका कारण साहसिक खेलका पूर्वाधार निर्माण हुने क्रममा बढेको छ । त्यसैक्रममा दोलखा घुम्न आउने पर्यटकलाई लक्षित गरी भीमेश्वर नगरपालिका–२ मा जिल्लाकै पहिलो रक क्लाइम्बिङको पूर्वाधार तयार गरिएको छ ।
पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको सहयोगमा सोक्लामा रक क्लाइम्बिङको पूर्वाधार तयार भएको हो । ४ सय मिटर अग्लो बाँदर लड्ने सोक्ला भीरमा रक क्लाइम्बिङको पूर्वाधार तयार गरिएको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । ‘सोक्ला भीरमा पर्यटकलाई साहसिक खेलमा आकर्षित गर्न रक क्लाइम्बिङ सुरु गरेका छौं,’ उनले भने, ‘साहसिक खेलमार्फत जिल्लाको पर्यटनमा नयाँ पूर्वाधार थपिएको छ, पर्यटकको बसाइ लम्बाउन र युवालाई आकर्षित गर्ने गरी थप प्रभावकारी बनाउने योजनामा छौं ।’
सोक्ला क्षेत्रलाई साहसिक खेल पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ सम्भाव्यता अध्ययन भएको थियो । अर्जुनकै अगुवाइमा सोक्लालाई साहसिक खेलको पर्यटकीय गन्तव्यका रूपमा चिनाउन रक क्लाइम्बिङ थालिएको हो । सोक्ला सदरमुकाम चरिकोटबाट करिब ८ किलोमिटर दूरीमा छ । तर, बत्तीमुनिको अँध्यारो भने जस्तै गाउँ पूर्वाधार र विकासमा निकै पिछडिएको । गत जेठ १८ र १९ मा सोक्लामा दुईदिने रक क्लाइम्बिङ महोत्सवसमेत आयोजना गरिएको थियो । महोत्सवमा सहभागी २ सय युवाले सोक्लाको भीरमा पहिलो पटक रक क्लाइम्बिङको अनुभव लिए । ४ सय मिटर अग्लो भीरमा २५ मिटर मात्रै रक क्लाइम्बिङका लागि तयार गरिएको छ ।
उक्त भीरमा २५/२५ मिटरका वटा रन सिंगल पिज तयार गरिएको छ । १० महिनाअघिदेखि अध्ययन गरेर सोक्लामा रक क्लाइम्बिङका लागि ३ वटा रुट तयार पारिएको छ । माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) प्राविधिक सहयोगमा सोक्लामा रक क्लाइम्बिङ स्थल तयार गरिएको हो । पहिलो पटक सोक्लामा साहसिक खेलमा रुचाउने युवाका लागि रक क्लाइम्बिङ तालिमको तयारी थालिएका पाख्रिनले बताए । २५ जना युवालाई सोक्लामा व्यावसायिक रूपमा तयार पार्ने गरी आउँदो महिना तालिम सञ्चालन हुने उनले बताए । ‘सोक्लामा आउँदो महिना व्यावसायिक क्लाइम्बर तयार पार्न तालिम गर्न लागेका छौं,’ उनले भने, ‘महिला क्लाइम्बर पनि उत्पादन गर्ने गरी काम अघि बढाइएको छ ।’ हाल २५ मिटर रहेको रक क्लाइम्बिङ एक सय मिटरको बनाइने गरी काम थालिएको उनले बताए ।
सोक्लाको भीरमा कम्मरमा डोरी बाँधेर चढनेहरूले पहिलो पटक रक क्लाइम्बिङ नौला अनुभव गरेको बताए । २५ मिटर कठिन पिजमा उक्लन निकै साहस गर्नुपरेको वासु श्रेष्ठले बताए । पहिला त यो भीरमा चढ्न सकिन्छ र भन्ने लागेको थियो,’ उनले भने, ‘तर डोरीको सहारामा निकै रोमाञ्चक तरिकाले चढियो, ओर्लंदा अझै माथिबाट कहाली लागे पनि साहस गरेर आर्लिए ।’ युवाहरू पछिल्लो समय नयाँ र साहसिक खेलमा आकर्षित भइरहका बेला जिल्लाको पर्यटनलाई गति दिन रक क्लाइम्बिङ थपिएकोमा अर्का युवा राजकुमार बस्नेतले खुसी व्यक्त गरे । उनले पनि पहिलो पटक सोक्लाको भीर उक्लेका हुन् । ‘मेरो पहिलो अनुभव हो रक क्लाइम्बिङ,’ उनले भने, ‘बाहिरतिर मात्रै हुन्छ भन्ने लागेको थियो तर जिल्लामै पहिलो रक क्लाइम्बिङ स्थल खुला भएको छ ।’ आधुनिक रक क्लाइम्बिङ गर्दा क्लाइम्बर कम्मरमा हार्नेस डोरी बाँधेर चढ्ने गर्छन् । अर्को दक्ष व्यक्तिले डोरीको सहायताले गाइड गर्ने गर्छन् । अनुभव नभएकालाई पहिलो पटक चढ्दा अपनाउनुपर्ने सुरक्षा र बाटोबारे पनि जानकारी गराइछ । निकै साहस लिएर चढनेहरूले नियममा बसेर समय अवधिमा क्लाइम्बिङ गर्नुपर्ने हुन्छ ।
आगामी दिनमा सोक्लामा रक क्लाइम्बिङको प्रतियोगिता पनि आयोजना गर्ने गरी भीरलाई तयार पार्ने काम भइरहेको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । भीमेश्वरको पर्यटनलाई गति दिन प्राकृतिक रूपमा रहेका यस्ता स्थानको पहिचान गरेर थप अध्ययन भइरहेको उनको भनाइ छ । हामीले साहसिक खेल र पर्यटनलाई मुख्य योजनामा समेटेका छौं,’ उनले भनिन्, ‘सोक्लामा रक क्लाइम्बिङ, त्यही तल रहेको तामाकोसीमा र्‍याफ्टिङ र कालिञ्चोक नागदह साइक्लिइङ रुट तयार पारिसकेका छौं ।’ सोक्लालाई दक्षिण एसियाकै ठूलोमध्येको रक क्लाइम्बिङ स्थल बनाउने गरी योजना भइरहेको उनले बताइन् ।
सोक्लामा रक क्लाइम्बिङको अध्ययन गरिरहेका माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) अध्यक्ष सञ्जीव गुरुङले रक क्लाइम्बिङ नयाँ रुटहरू विकास गर्नुपर्ने बताए । ‘सोक्लाको भीरलाई ४ सय मिटरसम्मै चढने गरी तयार गरिए दक्षिण एसियाकै अग्लो रक क्लाइम्बिङ सकिन्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा यो खेलमा आकर्षित विदेशी पर्यटक नेपाल भित्र्याउन सहज हुन्छ । सोक्लाका स्थानीयको आयस्रोत बढाउन होमस्टेको अवधारण ल्याउनुपर्ने उनले बताए । पहिलो चरणमा २५ मिटर मात्रै तयार पारिएकाले छिट्टै बढाएर एक सय मिटर बनाइने अध्यक्ष अर्जुनले बताए । ‘यो वर्ष एक सय मिटरसम्मको पिज तयार पार्ने गरी काम थाल्छौं,’ उनले भने, ‘स्थानीय युवालाई रक क्लाइम्बिङको तालिम दिने र गाउँ रोजगारीको वातावरण बनाउने छौं ।’ विपद् व्यवस्थापन तालिमका लागि समेत सोक्ला रक क्याम्बिङ नयाँ स्थल बनेको छ । खासगरी नेपाली सेना, सशस्त्र र जनपद प्रहरीलाई विपद्जन्य घटनाका लागि तालिम गर्न उपयुक्त थलो बन्ने अर्जुनले बताए । यस्तै, भीमेश्वर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन पनि रक क्लाइम्बिङ उपयुक्त हुने उनको भनाइ छ ।

युवा ग्यालरी

धिमे बाजा संरक्षण गर्न सहयोग

काठमाडौं (कास)– कमलादीको वेस्ट फाइनान्स कम्पनीले संस्कृति संरक्षण प्रवर्द्धन गर्दै आइरहेका उपत्यकाका विभिन्न १० गुठी, खलः तथा पुच (समूह) प्रत्येकलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ५० हजार रुपैयाँ सहयोग गरेको छ । शनिबार धिमे बाजा चलाउँदै आएका काठमाडौंको मखं ज्यापू गुथी, फय गं धिमे बाज खलः, मचा सांस्कृतिक पुचः, न्हुसां ल्यायम्ह पुचः, पुसल युथ क्लब, गुरु नित्य नाथ चाःवहि खलः, मानन्धर सनागु खलः न्हुसा, ललितपुर लगनखेलको भिद्योंलाछी टोल सुधार समिति, खोकनाको श्री ज्या दाफा खलः र भक्तपुरको राज गणेश धिमे खलःलाई सम्मान गरेको हो ।
कम्पनीका प्रमुख लगानीकर्ता गैरआवासीय नेपाली संघका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले धिमे बाजा नेवार समुदायको सम्पदा मात्र नभई सम्पूर्ण नेपालीको भएकाले संरक्षण प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने बताए । ‘काठमाडौं मुलुकको राजधानी मात्र नभई संस्कृति सम्पदाको राजधानी पनि हो,’ उनले भने ।
कम्पनीका अध्यक्ष खिमलाल पौडेलले यो सुरुवात मात्र भएको भन्दै संस्कृति संरक्षण गर्ने राज्यको मात्र नभई सबैको दायित्व भएको बताए । ‘संस्कृति बचाउन सबै आ–आफ्नै क्षेत्रबाट लागिपरौं,’ उनले भने । भिद्योलाछी टोल सुधार समिति लगनखेलका अध्यक्ष तरिकाजी अवालेले विदेशीहरू मुलुकमा ठूला भवन नभई मठमन्दिर, संस्कृति सम्पदा हेर्न आउने भएकाले यसको संरक्षण सबै मिलेर गर्नुपर्नेमा जोड दिए ।

युवा ग्यालरी

रोल्पा चिनाउने रहर

- काशीराम डाँगी

(रोल्पा)
मुलुकमा १० वर्ष चलेको सशस्त्र द्वन्द्वको उद्गम थलो भनेर चिनिन्छ, रोल्पा । सशस्त्र द्वन्द्वको उद्गम स्थानका रूपमा चिनिने रोल्पालाई फरक तरिकाले चिनाउन यहाँका युवा तम्सिएका छन् । जिल्लालाई फरक पहिचान दिन सक्रिय युवामध्येका हुन् जेलबाङका ३५ वर्षीय बाल्कुराम पुन । रोल्पा–रुकुम जोडेर गुरिल्ला ट्रेलका रूपमा विकास गर्ने योजनामा लामो समयदेखि उनी सक्रिय छन् । द्वन्द्वको स्मरण गर्न मात्रै होइन, त्यसलाई भुलेर शान्तिलाई स्थायित्व दिलाउने उनको ध्येय छ ।
सशस्त्र द्वन्द्वका क्रममा मुलुकमै सबैभन्दा धेरै मानवीय क्षति भएको जेलबाङमा जन्मिएका उनी एक दशकदेखि जिल्लाको नयाँ परिचय कायम गर्ने योजनामा तल्लीन छन् । ‘सशस्त्र द्वन्द्व सकिएको सार्वजनिक रूपमा महसुस गराउन जरुरी छ,’ उनले भने, ‘त्यसैले शान्तिप्रति प्रेम बढाउन यस क्षेत्रमा नयाँ गतिविधि आवश्यक छन् ।’ स्थानीयको आयआर्जनका लागि होम स्टे समेत सञ्चालन गर्न चाहन्छन् छन् । त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा, बुद्धिजीवी र महिला तथा आमा समूहसँग सहकार्य गरिरहेका छन् । ‘विदेशबाट फर्केपछि म यहींको पर्यटकीय विकासमा लागिपरेको छु,’ उनले भने । उनी भारतको लद्दाक, हिमाचल, उत्तराखण्ड र अन्य हिमाली क्षेत्रमा लामो समय टुर गाइडका रूपमा कार्यरत थिए ।
सरकारले रोल्पा र रुकुमलाई जोड्ने लक्ष्यसाथ पूर्वको बेनीदेखि डोल्पाको दुनैसम्मका पर्यटकीय भागलाई गुरिल्ला ट्रेलका रूपमा विकास गर्ने योजना अघि सारेको थियो । त्यसै लक्ष्यसाथ गुरिल्ला ट्रेलको विकास गर्ने योजना बनाइयो । म्याग्दीको बेनीदेखि गुर्जाखानी, दुले, पेल्मा, मैकोट, गर, पद्मी, वीरगुम, तकसेरा, लुकुम, महत थबाङ, जलजला, गल्फुखोला, बाघटारे, जेलबाङलाई एउटै पदमार्गमा जोडेर गुरिल्ला ट्रेल बनाउने योजना पनि अघि सारिएको थियो । अहिले यी क्षेत्रमा मगर समुदायको बाहुल्य रहेको छ । यी क्षेत्रको विकास गर्न सके यहाँको ऐतिहासिकता संरक्षण गर्न राज्यको ध्यान पुग्ने बाल्कुरामले बताए । ‘अर्गानिक संस्कृति, खानाका परिकार, स्थानीयको व्यवहार र पर्यटकीय महत्त्वको विकास गर्न गुरिल्ला ट्रेलको विकास आवश्यक छ,’ उनले भने, ‘ट्रेल सञ्चालनमा ल्याउन ढिलाइ गरिनु हुन्न ।’
यसका साथै जिल्लाभित्र गुरिल्ला ट्रेल जत्तिकै महत्त्वको अर्को ट्रेल पनि छ । अहिले जलाकी ट्रेलका रूपमा चिनिने जलजला, जन्तरे, टीकाचुली, तिलाचन, पातिहाल्ना, खानीखोला, निस्याल्ढोर, ढोरपाटन क्षेत्रलाई जोडेर यस ट्रेललाई बुझ्ने गरिएको छ । गुरिल्ला ट्रेलले ८ देखि ११ जिल्ला जोड्छ भने जलाकी ट्रेलले बागलुङ, रोल्पा र रुकुम पूर्वका सुन्दर र ऐतिहासिक स्थान जोड्छ । यी क्षेत्रको विकास गरेर स्थानीय भाषा, संस्कृति, रहनसहन र सम्पदालाई संरक्षण गर्न स्थानीयदेखि प्रदेश र संघीय सरकारको भूमिका महत्त्वपूर्ण हुनेमा उनको विश्वास छ । ‘स्थानीय तहले प्राथमिकता दिन सके यस क्षेत्रको पर्यटकीय विकास गर्न मुस्किल छैन,’ उनले भने, ‘यी क्षेत्रलाई छोएर निर्माण भइसकेको मध्यपहाडी लोकमार्ग र निर्माण हुँदै गरेका अन्य सडक योजनाले यस क्षेत्रको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।’
 गुरिल्ला ट्रेलअन्तर्गत पर्ने रुकुम पूर्वका महत, लुकुम, तकसेरा, मैकोट र रोल्पाका थबाङ र जेलबाङ गाउँ मगरबस्ती भएका गाउँ हुन् । बाक्लो बस्ती, मगर भाषा बोलिने र भिन्नै संस्कृति भएका यी गाउँमा विगतको सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी विद्रोहीको बाक्लै प्रभाव परेको थियो । यस क्षेत्रको धार्मिक, पर्यटकीय, सशस्त्र द्वन्द्वकालीन सम्बन्ध भएका क्षेत्र र ऐतिहासिकतासँग जोडिएका क्षेत्रभित्र सम्भावनायुक्त गन्तव्य पहिचान गर्नु बाल्कुरामको मुख्य चासो हो ।
सदरमुकाममा पर्यटकीय चेतना विस्तार गर्ने कार्यालय खोलेर जिल्ला र क्षेत्रकै विकास गर्न उनलाई साथ दिन प्रदेश सांसद दिपेन्द्रकुमार पुनले स्थानीय तहसँग आग्रह गरेका छन् । ‘पहिले युद्ध लडेका क्षेत्रको संरक्षण गर्नु र विकास गर्नु महत्त्वपूर्ण कुरा हो,’ सांसद पुनले भने, ‘स्थानीय तहले त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।’ बाल्कुरामले जिल्लाका पर्यटकीय सम्भावनायुक्त क्षेत्रमा हेली टुर गराउनका लागि गत वर्ष समन्वयसमेत गरेका थिए । ‘त्यस क्रममा लिबाङदेखि जलजलासम्म हेली टुर गर्दा यहाँको पर्यटकीय महत्त्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको थियो,’ बाल्कुरामले भने, ‘यो क्रम रोकिनु हुन्न भनेर लागेको छु ।’

युवा ग्यालरी

'गिनिज बुक अफ रेकर्ड्स' प्रकाशन

सन् २०१२ मा आजकै दिन

सन् १९५५ मा आजकै दिन (अगस्ट २७) पहिलो पटक ‘गिनिज बुक अफ रेकर्ड्स’ प्रकाशित भएको थियो । नोरिस र रोस म्याकह्विर्टर दाजुभाइले प्रकाशन गरेको पुस्तक एक सय ९८ पेजको थियो ।
पुस्तकमा विभिन्न क्षेत्रका प्रगति र उपलब्धिसम्बन्धी विश्व रेकर्ड उल्लेख गरिएको थियो । उक्त पुस्तक बेलायतमा सोही वर्ष सर्वाधिक बिक्री हुने पुस्तक भएको थियो । त्यसको अर्को वर्ष अमेरिकामा प्रकाशित गरिएको पुस्तक ७० हजार प्रति बिक्री भएको थियो ।
‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ हाल एक सय देशमा विभिन्न ३७ भाषामा प्रकाशित हुन्छ । पुस्तकमा ५३ हजार विश्व रेकर्डबारे उल्लेख गरिएको छ । पुस्तक हालसम्म दस करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ ।

Page 5
समाचार

मुसहर बस्तीमा उठीबासको त्रास

तीन पुस्तादेखि बस्दै आए पनि लालपुर्जा भएकाहरूले हटाउन डोजर चलाउन थालेको पीडितको भनाइ
- कान्तिपुर संवाददाता

(बलारहद, सप्तरी)
सप्तरीको सप्तकोशी नगरपालिका–४ को कामत टोलस्थित २० परिवार मुसहर बस्तीमा अहिले उठीबासको त्रास फैलिएको छ । तीन पुस्तादेखि बसोबास गर्दै आएका उनीहरूलाई थातथलोबाट अहिले डोजर लगाएर हटाउन थालिएको छ । जसले गर्दा २० परिवार मुसहर बस्तीका ५५ जना पुरुष र ५१ जना महिला गरी १ सय ६ जना त्रासमा छन् ।
तीन पुस्तादेखि बस्दै आएको ठाउँबाट लालपुर्जा भएकाहरूले हटाउन डोजर चलाउन थालेपछि उनीहरू आत्तिएका थिए । स्थानीय पालिकाले उनीहरूलाई स्थानान्तरण गर्नका लागि ऐलानी जग्गामा घर बनाउने प्रक्रिया थालेपछि उनीहरू आशावादी भएका थिए । तर घर बनाउने जग्गा छेउछाउका जग्गाधनीसँगै अन्य स्थानीय बासिन्दाले त्यहाँ घर बनाउन नदिनका निम्ति मुद्दा मामिला गरेपछि उनीहरू थप अन्योलमा परेका छन् ।
सप्तरीको कोइलाडीका जमिन्दार ठाकुरप्रसाद सिंहको जग्गामा तीन पुस्ताअघि मुसहर समुदायलाई बास बसाइएको थियो । त्यति बेलादेखि नै मुसहर समुदाय उनै ठाकुरप्रसादको मौजामा काम गर्दै आएका थिए । ‘थातथलोको ग्यारेन्टीको हिसाबले हाम्रा पितापुर्खाहरू र हामी उनै ठाकुरप्रसादको मौजामा काम गरिरह्यौं,’ स्थानीय ९० वर्षीय भक्तु सदाले भने, ‘तर अहिले जमिन्दार सिंहबाट जग्गा किनेका व्यक्तिले घर भत्काउन डोजर ल्याउन थालेपछि हाम्रो बिल्लीबाठ हुने अवस्था भएको छ ।’
सप्तकोशी नगरपालिका–४ का वडाध्यक्ष जयराम खंगका अनुसार उक्त वडामा ८४ परिवार भूमिहीन दलित, १० परिवार सुकुम्बासी र ४० परिवार अव्यवस्थित बसोबासको श्रेणीमा सूचीकृत छन् । वडाध्यक्ष खंगले पनि उठीबासको समस्यामा परेका २० मुसहर परिवार तीन पुस्तादेखि त्यहाँ बसिरहेको र उनीहरूले सुरुवातदेखि तत्कालीन जमिन्दार ठाकुरप्रसादको मौजामा काम गरेको बताए ।
जग्गा हदबन्दीको नियम लागू भएपछि जमिन्दार ठाकुरप्रसादले उक्त जग्गा सप्तरीको बनैनिया निवासी आफन्तीको नाममा सारेका थिए । सिंहको आफन्तीबाट देवनन्दन दासको नाममा बिक्री भएको जग्गा दासले घोघिदाहा भवानीपुरका सहदेव चौधरीलाई बेचेका थिए । सहदेवले जग्गा खाली गराउन अदालतमा मुद्दा दर्ता गरेको र मुसहर समुदायका व्यक्ति कानुनबारे जानकार नहुँदा मुद्दामा प्रतिउत्तर नजोड्दा मुद्दा एकतर्फी भई चौधरीको पक्षमा फैसला भएको वडाध्यक्ष खंगले बताए ।
चौधरीले मुद्दा जितेपछि अदालतको डोर कर्मचारी, सुरक्षाकर्मी र डोजरसहित गत माघ महिनामा २० परिवार मुसहर बस्ती खाली गराउन आएका थिए । त्यतिबेला स्थानीय तहका प्रतिनिधिले मुसहर बस्ती अन्यत्र सारुन्जेललाई कुर्न भनेपछि जग्गाधनी चौधरीले चार महिनाको समय दिएका थिए । वडाध्यक्ष खंगले भने, ‘जग्गाधनी चौधरीलाई चलनचल्तीको मूल्य नगरपालिकासँग लिएर मुसहर बस्तीको जग्गा उनीहरूलाई नै दिन आग्रह गरें तर मानेनन् ।’
सप्तकोशी नगरप्रमुख कृष्णप्रसाद ढकालका अनुसार यो घटनापछि ०७९ माघ २३ मा नगर कार्यपालिकाको बस्ती नजिकैको ११ कट्ठा सार्वजनिक जग्गामा २० परिवारलाई राख्ने निर्णय गरेको थियो । ढकालले सुनाए, ‘पालिकाको निर्णयपछि राष्ट्रिय भूमि आयोगसँग समन्वय गरेर आयोगबाट नापजाँच गरी मुसहर परिवारलाई जग्गाको निस्सासमेत प्रदान गर्‍यौं ।’ यसलगत्तै ०७९ फागुन ११ मा नगरपालिकाको ४९ लाख, अन्तर्राष्ट्रिय संस्था ह्याबिट्याट फर हुम्यानिटी नेपाल र गैरसरकारी संस्था महुली सामुदायिक विकास केन्द्रको ४० लाख र घरधनीको जनश्रमदान १६ लाख ७० हजार गरी कुल १ करोड ५ लाख ७० हजारको लागतमा २० परिवार मुसहरको घर निर्माण गर्ने गरी सम्झौता भयो ।
दुई कोठे घर, बरन्डा र शौचालय निर्माणका लागि मुसहर समुदायबाटै राजन सदाको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति र वडा सदस्य तीर्थराज चौधरीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन भई निर्माण कार्य सुरु भयो । प्रतिघर ५ लाख २८ हजार ५ सय रुपैयाँ लागतमा १० घर निर्माणको अन्तिम चरणमा पुग्दै थियो । त्यही बेला यो बस्तीको निर्माण रोक्न मुद्दा पर्न थाले ।
नगरप्रमुख ढकालका अनुसार सुरुमा ०८० जेठमा केही व्यक्तिले घर निर्माणका लागि दलित समुदायलाई दिइन लागिएको जग्गा वितरण रोक्न माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा मुद्दा लगाए । उक्त मुद्दा विचाराधीन छ । त्यसलगत्तै सप्तकोशी नगरपालिका–४ का महिकरप्रसाद चौधरीलगायतकाले नगरपालिका र जनप्रतिनिधिसमेतलाई विपक्षी बनाई ०८० असार २९ मा अर्को मुद्दा हाले । फेरि साउन २५ मा सप्तकोशी–४ कै नारायणप्रसाद चौधरी, देवीनारायण चौधरी, महिकरप्रसाद चौधरी र गणपति चौधरीले नगरपालिका कार्यालय, नगरप्रमुख ढकाल, वडाध्यक्ष खंग र भूमि आयोगको सप्तरी कार्यालयलाई प्रतिवादी बनाई सप्तरी जिल्ला अदालतमा सार्वजनिक जग्गा खिचलोको मुद्दा दर्ता गरे ।
यो तेस्रो मुद्दामा साउन २६ गते जिल्ला अदालत सप्तरीका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले जग्गाको विवाद स्पष्ट बुझिने फिल्डबुक उतारको प्रमाणित प्रतिलिपि वादीबाट दाखिला गराउनु र विवादको जग्गा भूमिहीनलाई वितरण गर्ने सम्बन्धमा कुनै निर्णय भएको छ/छैन ? निर्णय भएको भए, को कसलाई वितरण गर्ने निर्णय भएको छ ? सो सम्बन्धमा भएका कामकारबाही एवं निर्णयसमेतको जवाफ राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीबाट झिकाउने आदेश गर्‍यो ।
‘एकातिर हामी वर्षौंदेखि बसोबास गर्दै आइरहेको जग्गामा डोजर लगाएर हटाउन आए, अर्कोतर्फ स्थानीय सरकारले दिएको बसोबासको जग्गामा पनि मुद्दा लगाए, अब हामी अनपढ र आर्थिक रूपले विपन्न मुसहर कहाँ जानु ?,’ स्थानीय फुलियादेवी सदाले भनिन्, ‘बरु हामीलाई देश निकाला गरे हुँदैन ?’
अहिले उठीबासमा पर्ने त्रासमा रहेका मुसहर समुदायमध्ये केही स्थानीयस्तरमै बनिबुतो गरेर गुजारा गर्ने गरेका छन् भने केही पुरुष रोजगारीका लागि भारतको दिल्ली पन्जाबतिर जाने गरेका छन् । ‘स्थानीयस्तरमा रोजगारी छैन, हामी परिवार बालबच्चा छोडेर दिल्ली पन्जाब जान्छौं,’ मनु सदाले भने, ‘एक त हाम्रो तीनपुस्ते बसोबास उजाडिन खोजियो, अर्कोतर्फ नगरपालिकाले दिने घरजग्गामा पनि अड्को थाप्ने काम भयो, अब हामी कहाँ जानु ?’
‘कसैको निजी जग्गामा हाम्रो केही भन्नु छैन, आग्रहमात्र गर्न सकिन्छ तर सार्वजनिक जग्गामा नगरपालिकाले निर्णय गरेर भूमि आयोगले निस्सा प्रदान गरेपछि मुसहर समुदायका लागि घर निर्माण हुन थाल्दा मुद्दा लगाउनु मुसहर समुदायलाई विस्थापन गर्नुबाहेक केही होइन,’ नगरप्रमुख कृष्णप्रसाद ढकालले भने, ‘अहिले सार्वजनिक डगर जग्गामा बाटो छुट्याएर घर बनाउन सुरु गर्दा मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह हो । तर अदालतले न्याय गर्छ ।’
त्रसित २० परिवार मुसहर अहिले पनि सहदेव चौधरीकै जग्गामा बसेका छन् । ‘मेयर, वडाध्यक्षले भनेर केही दिनका लागि चौधरीले छोडेका थिए, नयाँ घर निर्माणमा मुद्दामा परेकाले कहिले पाउने टुंगो छैन,’ स्थानीय भक्तु सदाले भने, ‘फेरि कुन दिन जग्गाधनी आएर डोजर लगाउने हुन् भन्ने त्रास छ ।’

समाचार

झुक्याएर जाहेरी, शंकास्पद अनुसन्धान

डीएसपीबाट भएको भनिएको बलात्कार घटना पााच महिनापछि सार्वजनिक भएसागै यो प्रकरणसाग जोडिएका शंकास्पद विवरणको खुलासा
- अवधेशकुमार झा

(सप्तरी)
इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी गरिएको घटनामा प्रहरीले झुक्याएर जाहेरी लिएको र अनुसन्धानको प्रक्रिया शंकास्पद रहेको भेटिएको छ । कार्यालयका डीएसपीबाट हिरासतमा भएको ‘बलात्कार’ घटना प्रहरीले सामसुम पारेको पाँच महिनापछि सार्वजनिक भएसँगै यो प्रकरणबारे शंकास्पद विवरण बाहिर आएका छन् ।
यो घटना कसरी शंकास्पद थियो भनेर बुझ्न २०७९ कात्तिक ६ मा पुग्नुपर्छ । त्यो बिहान ५ बजे एक अधबैंसे पुरुषको करेन्ट लागेर मृत्यु भएको थियो । घटनाबारे परिवारकै सदस्यले प्रहरीमा खबर गरेपछि इलाका प्रहरीको टोली घटनास्थल पुगेको थियो । पोस्टमार्टम गरी प्रहरीले शव परिवारको जिम्मा लगाएपछि सद्गत गरिएको थियो । काजकिरिया सकिएपछि २०७९ मंसिर ७ मा मृतककी श्रीमतीले इलाका प्रहरी कार्यालयमा पुगेर पतिको भवितव्य मृत्यु भएको भन्दै निवेदन दिएकी थिइन् । त्यसको भोलिपल्ट उक्त कार्यालयका तत्कालीन डीएसपी रामकुमार यादवको तोकादेशमा प्रहरीले उक्त जाहेरीलाई ४१ नम्बरमा दर्ता गरी भवितव्य मृत्यु भएको भन्दै चलानी नम्बर ११२२ को पत्र दिएको थियो । यो पत्र पाएलगत्तै मृतककी श्रीमती श्रीमान्को बिमा रकम लिन सिटिजन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गएकी थिइन् । प्रक्रिया पूरा गरेर उनले सिटिजनबाट रकम प्राप्त गरिन् ।
२०७९ पुसमै मृतककी पत्नी बिमा रकमका लागि नेपाल लाइफ इन्स्योरेन्समा पुगिन् । इन्स्योरेन्सका प्रतिनिधि मोकेन्द्र यादवले भने घटनाबारे अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई फर्काइदिए । यसबीचमा इलाका प्रहरीमा फागुन २ गते नयाँ डीएसपी दीपककुमार राय हाजिर भए । रायलाई इन्स्योरेन्सका प्रतिनिधि मोकेन्द्रले खादासहित स्वागत गरेबाट उनीहरूको सम्बन्धको पृष्ठभूमि बुझिन्छ । मृतककी पत्नी बारम्बार बिमा रकम लिन धाइरहेको बेला नयाँ आएका डीएसपी रायले चैत ४ मा मृतककी पत्नीसहित तीन जनालाई घरबाटै पक्राउ गरेका थिए ।
प्रहरीले पक्राउको चार दिनपछि मृतककी पत्नीको, ५ दिन र ८ दिनपछि अन्य दुई जनाको पोलीग्राफ गरेको थियो । पक्राउको भोलिपल्ट नेपाल लाइफले शंकास्पद मृत्यु भन्दै प्रहरीमा पत्राचार गरेको थियो भने पक्राउ गरेको १० दिनपछि मात्रै तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जीबिनै हिरासतमा राखिएकोबारे प्रश्न गर्दा डीएसपी रायले सुरुमा अभद्र व्यवहारमा जिल्ला प्रशासनबाट अनुमति लिएर राखेको र पछि पक्राउ पुर्जी जारी गरिएको दाबी गरे । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले ती महिलासहित तीनै जनालाई अभद्र व्यवहारमा पक्राउ गरिएको पुष्टि गरे ।
यहीबीचमा चैत १५ मा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले पत्रकार सम्मेलन गर्दै मृतककी पत्नीले बिमाको रकम हत्याउन र सो रकमले ऋण तिर्नका लागि दुई महिलाको सहयोगमा आफ्नै पतिको हत्या गरेको बताए । मृतककी पत्नी पक्राउ परेको १६ दिनपछि अर्थात् चैत २० मा मृतकका दाजुलाई इलाका प्रहरीमा बोलाएर हस्ताक्षर गर्न लगाइएको देखिन्छ । मृतकका दाजुले कान्तिपुरसँगको कुराकानीमा भने, ‘म अनपढ मान्छे केही बोल्न सकिनँ । मलाई ३ पानाको कागजमा सही गर्न भनियो । त्यो कागजमा के लेखिएको थियो न त पढेर सुनाइयो न मलाई बुझाइयो । झुक्याएर जाहेरी पत्रमा औंठाछाप लगाउन लगाइयो ।’
यही जाहेरीकै आधारमा अघि बढेको मुद्दामा ०८० वैशाख ११ मा सप्तरी जिल्ला अदालतले थुनछेक बहसपछि तीनै जनालाई पुर्पक्ष थुनामा राख्ने आदेश सुनायो । थुनामा रहेकी मृतककी पत्नीले कान्तिपुरसँगको कुराकानीमा बिमा कर्मचारी र प्रहरीले आफूविरुद्ध षड्यन्त्र गरिएको बताइन् । कान्तिपुरसँगको कुराकानीमा मृतककी आमाले बुहारी पक्राउपछि आफ्नो होस उडेको बताइन् । उनले भनिन्, ‘छोरा गयो, बुहारी जेल गइन्, एक्लो घर बिरानो लाग्छ ।’
नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी मोकेन्द्रले मृतककी पत्नीले बिमाबापत ४० लाख पाउने अवस्था रहेपछि उक्त रकम दिनुअघि आफूहरूले गरेको अनुसन्धानले शंका देखाएपछि प्रहरीमा पत्राचार गरेको बताए । उनले त्यसअघिको अनुसन्धान मिलिभगतमा भएको आरोप लगाउँदै पोस्टमार्टमबारे पनि शंका गर्नुपर्ने तर्क गरे । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले हिरासतमा भएको भनिएको बलात्कारको घटनामा आफूहरूले अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘सीसीटीभी फुटेज संकलन गर्ने काम भइरहेको छ ।’

समाचार

सानोठिमी सुधार गृहबाट ५७ जना उपत्यकाबाहिर पठाइए

काठमाडौं (कास)– कारागार व्यवस्थापन विभागले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा विद्रोह गर्ने ५७ जनालाई उपत्यकाबाहिर स्थानान्तरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले १८ जनालाई सुधार गृह पर्सा, १८ जनालाई मकवानपुर, ७ जनालाई डोटी र १४ जनालाई रूपन्देही पठाएको हो ।
सुधार गृहको विवाद समाधान गर्न उनीहरूलाई स्थानान्तरण गरिएको विभागका महानिर्देशक काशीराज दाहालले बताए । उनीहरू अधिकांश १८ वर्षमाथिका छन् । २० वर्षीय युवकको उपचारका क्रममा गत आइतबार मृत्यु भएपछि सुधार गृहमा रहेकाले विद्रोह गरी २ सय २१ जना भागेका थिए । तीमध्ये ७ जना अझै फरार छन् । सुधार गृहमा रहेका २ सय ९७ मध्ये ४३ जना बालिका र किशोरी छन् । सुधार गृहमा रहेका बालक र किशोर दुई समूहमा विभाजन भई आपसमा झगडा गर्दा विवाद मिलाउन गएका प्र्रहरीमाथि नै जाइलाग्न थालेपछि स्थानान्तरण गरिएको कारागार विभागले जनाएको छ ।
जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागूऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, चोरीलगायत मुद्दामा अदालतको आदेशले उनीहरूलाई सुधार गृहमा राखिएको हो । भक्तपुरमा २ सय ९६ मध्ये १ सय ५४ जना जबर्जस्ती करणीमा परेका थिए भने ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए । अदालतले १८ वर्षभन्दा कम उमेरकालाई सुधार गृह पठाउने गर्छ । अदालतले तोकेको अवधि पूरै सुधार गृहमै बस्न पाउने सुविधा छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी व्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ व्यवस्था छ । तर, सरकारले यसलाई कार्यान्वयन गर्न सकेको छैन । सानोठिमीमा मात्रै १ सय ३१ जना १८ वर्षमाथिका छन् । यहाँ पनि क्षमताभन्दा बढी राख्दै आएको थियो । सुधार गृहले न्यूनतम सुविधा पनि नदिएको भन्दै उनीहरूले विरोध जनाउँदै आएका थिए । उपचार नै पाएर सुधार गृहमा एक युवाले ज्यान गुमाएको उनीहरूको आरोप छ ।
ज्वरोबाट थलिएका २० वर्षीय युवकको बेलैमा उपचार नभएकै कारण मृत्यु भएको घटनामा अझै सहमति हुन सकेको छैन । मृतकको परिवारले १० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेको छ । क्षतिपूर्तिमा सहमति नभएकै कारण मृत्युको विषयमा अनुसन्धानसमेत अघि बढ्न सकेको छैन । मृतकको पोस्टमार्टम पनि गरिएको छैन ।
अपराधमा मुछिएका १८ वर्षमुनिका बालबालिका राख्न मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रूपन्देही, बाँके र डोटीमा बाल सुधार गृह सञ्चालनमा छन् ।

समाचार

सर्पदंश रोकथाममा धनगढीको जुक्ति

- चित्रांग थापा

(धनगढी)
मान्छेलाई सर्पबाट जोखिम, सर्पलाई मान्छेबाट । त्यसैले कतै मान्छे र घरपालुवा पशुपक्षी सर्पदंशको सिकार हुन्छन्, कतै त्यसरी देखापरेका सर्प मारिन्छन् ।
गर्मीयाममा तराईका बजार र बस्तीमा सर्प देखिनु नौलो होइन । घर, गाईबस्तुका गोठ, कुखुरा, सुँगुर, बंगुरका खोरभित्र सर्प पसेको भेटिए त्यसलाई बाहिर पठाउन निकै सास्ती हुन्छ । धनगढी उपमहानगरले नगरवासीलाई हानि पुग्न नदिने र सर्पको पनि जीवनरक्षा हुने गरी अभियान थालेको छ । नगरभित्र कतै बस्ती क्षेत्रमा सर्प देखापरे टोली पुग्छ र सुरक्षित तवरले उद्धार गरी टाढा लगेर छाडिदिन्छ । उपमहानगरको विपद् व्यवस्थापन शाखाअन्तर्गतको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बाढी, डुबान र आगलागीजस्ता प्राकृतिक प्रकोपसँगै सर्प उद्धारको काम थालेको हो ।
यसले नगरवासीलाई सर्पदंशबाट जोगाउन सहयोग गरेको छ । सर्प पनि अनाहकमा मारिनबाट जोगिएका छन् । ‘असारको अन्तिमतिर २५ जना नगर प्रहरीलाई सर्प उद्धार तथा व्यवस्थापन तालिम दिएपछि साउन १ देखि हामीले यो काम थालेका हौं,’ उपमहानगरको विपद् व्यवस्थापन शाखाका प्रमुख दीपक भण्डारीले भने । यसका लागि नगर प्रहरीलाई बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रशिक्षक ल्याएर उक्त तालिम दिइएको उनले बताए ।
सर्प नियन्त्रणमा लिन प्रयोग हुने स्नेक स्टिक, टंग, हुक, ब्याग, पञ्जा र प्राथमिक उपचार सामग्री भारतबाट खरिद गरेर ल्याइएको छ । यो कार्यक्रमका लागि उपमहानगरपालिकालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले पनि सहयोग गरेको उनले बताए । ‘धनगढीले सुरु गरेको यो कार्यक्रम देशमै नौलो हो,’ भण्डारीले भने, ‘यसबाट प्रभावित भएर अरू स्थानीय तहले पनि तालिम र उद्धार सामग्रीहरूबारे सोधपुछ गरिरहेका छन् ।’ उनका अनुसार वातावरणवादीले यो योजनालाई सराहना गरेका छन् ।
सर्प उद्धारका लागि उपमहानगरपालिकाका तालिमप्राप्त २५ जनालाई विभिन्न सेक्टरमा विभाजन गरेर समूहमा खटाइने गरिएको छ । नगर क्षेत्रभित्र सर्प घरगोठमा देखिएमा वा त्यसबाट जोखिमको अवस्था देखेमा नगरवासीले टोल फ्रि नम्बर १८१०५००००९० फोन गर्न सक्छन् । खबर आएपछि उद्धारकर्मी खटिन्छन् । ‘आगलागी, बाढी, डुबान र सर्प उद्धारजस्ता विपद् व्यवस्थापनका काममा फोन आउनेबित्तिकै हामी उद्धारका लागि सम्बन्धित ठाउँमा पुग्ने गरेका छौं,’ सर्प उद्धारमा हालै तालिम लिएका नगर प्रहरी कृष्णप्रसाद भट्टले भने, ‘मंगलबारसम्म हाम्रो टोलीले १ सय ६० भन्दा बढी सर्प नियन्त्रणमा लिएर उद्धार गरिसकेको छ ।’
सबैभन्दा विषालु मानिने राज गोमन सर्पका ७ वटा बच्चा एकै ठाउँबाट समातेको उनले बताए । अर्का नगर प्रहरी सन्तोष राईका अनुसार धनगढीका विभिन्न क्षेत्रमा देखापरेका विषालुमध्येका करेत र गोमनका विभिन्न प्रजाति टोलीले भेटेको छ । यस्तै विषालु नहुने अजिंगर, धामन, र पानी सर्प नियन्त्रणमा लिई उद्धार गरेको उनको भनाइ छ । उद्धार गरिएका सर्पलाई ५ किलोमिटरभित्रको क्षेत्रमा सुरक्षित साथ छाड्ने गरिएको छ । टोलीले धेरै सर्प रातको समयमा नियन्त्रणमा लिएको छ ।

मेयर हमालको योजना
दलहरूको दबदबाबीच स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएर आएपछि धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाल कामका कारण चर्चामा छन् । वडा स्वास्थ्य शिविर, ६ लेनको सडकमा विद्युतीकरण, वृक्षरोपण र धनगढी बजार क्षेत्रको सडक स्तरोन्नतिसहित उनले नगरवासीलाई सर्पबाट जोगाउने र सर्पलाई पनि मारिनबाट जोगाएर उद्धार गर्ने अभियान सुरु गरेका हुन् ।
 विदेश भ्रमणको सिकाइलाई पछ्याउँदा नगरवासीका हितमा नौला योजना ल्याउन सकेको हमालको भनाइ छ । ‘फिलिपिन्स भ्रमणमा जाँदा त्यहाँको मेट्रोपोलिटन कार्यालयहरूले जनताका लागि सेवा प्रवाह गर्ने सिलसिलामा सञ्चालन गरेका कार्यक्रमबारे जानकारी पाइयो,’ नगरप्रमुख हमाल भन्छन्, ‘नगरवासीले नगरपालिकालाई विभिन्न प्रकारका कर बुझाइरहेका हुन्छन्, उनीहरूले बुझाएको रकमले नै हामीले सेवा प्रवाह गर्ने हो ।’
आफूहरूले पनि नगरवासीलाई सक्दो सेवा प्रदान गर्ने लक्ष्यअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका उनले बताए । घरमा सर्प पसेपछि सम्बन्धित परिवारलाई हुने डर, त्रासबाट मुक्त गराउन सर्प समात्ने कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

Page 6
दृष्टिकोण

राजनीतिक दलका असंगत व्यवहार

- कृष्ण खनाल

एकसट्ठी किलो सुनकाण्डको उच्चस्तरीय छानबिन माग गर्दै नेकपा एमालेका कारण ३७ दिनसम्म अवरुद्ध संसद् गत साता बुधबारदेखि सञ्चालन हुन थालेको छ । संसद्मा के विषयमा छलफल भयो, निर्णय के भयो भन्नेभन्दा पनि बैठक चल्नु नै ठूलो समाचार भएको छ । संसद्मा प्रतिपक्षले केही खास विषयमा सरकारको ध्यानाकर्षण गराउन, आफ्नो दृष्टिकोण र अडानलाई सशक्त बनाउन बैठकमा अवरोध गर्न सक्छ; यसलाई अस्वाभाविक मान्नुपर्दैन । यस्ता क्रियाकलापको प्रतीकात्मक महत्त्व हुन्छ । एमाले मात्र होइन, प्रतिपक्षमा रहँदा नेपाली कांग्रेस, माओवादी, राप्रपा, मधेशकेन्द्रित लगायत सबै दलले सदनमा यस्तो गतिविधि गरेका छन् । सुन तस्करी प्रकरणको छानबिनमा देखिएको सरकारी व्यवहारमाथि शंका उठ्नु स्वाभाविक थियो । प्रधानमन्त्री र गृहमन्त्रीकै पार्टीका भएकाले कृष्णबहादुर महरा र छोरालाई प्रमाण नपुगेको भनेर प्रहरीले छानबिनको दायरामा नल्याउने स्थिति बन्यो । सत्ता गठबन्धनले भित्री कोठामा गनगन गर्नेबाहेक संसद्मा अवाज उठाउने स्थिति बनेन । त्यस अर्थमा प्रमुख प्रतिपक्षी एमालेले स्वतन्त्र कानुनी आयोगको माग राख्नु अस्वाभाविक थिएन । तर विगतका अनुभवलाई हेर्दा, स्वतन्त्र भनिए पनि यो आयोग पार्टीगत प्रतिष्ठा–तुष्टिभन्दा बढी केही होला भनेर पत्याउन सकिन्न ।
कोशी प्रदेशमा मुख्यमन्त्री चयनमा भएको संविधान अतिक्रमण रोक्न न्यायपालिकाले उही कुरामा दुईदुई पटक हस्तक्षेप गर्नुपर्ने अवस्था पर्‍यो । हिजो जे भनेर केपी शर्मा ओलीलाई सत्ताबाट अपदस्थ गर्नुपरेको थियो, उही कुरा अहिले सत्ता गठबन्धनले दोहोर्‍याएको छ । यो मात्र होइन, पार्टी विभाजन सम्बन्धी गलत अध्यादेश, सांसदको तजबिजी विकास, नेताको जिल्लामुखी बजेट विनियोजन लगायत कैयौं विषयमा पुरानै प्रवृत्ति अझ खराब रूपमा दोहोरिएको छ । न्यायपालिका र संवैधानिक निकायप्रति कार्यपालिकाको अटेर र वक्रदृष्टि बढ्दो छ । राज्य भनेको कार्यपालिका, त्यसमा पनि प्रधानमन्त्री र केही प्रभावशाली मन्त्रीहरूको आदेशरूपी सिटीजस्तो भएको छ ।
मलाई थाहा छ, राजनीतिको बाटो सजिलो छैन, अनेक अप्ठ्यारा आइपर्छन् । धेरै आदर्श र सिद्धान्त पनि सम्झौतामा पुग्छन् । सिद्धान्तका कुरा गर्दागर्दै पनि व्यवहारसम्मत एउटा बाटोमा सम्झौता गर्नैपर्ने हुन्छ । तर त्यसको पनि सीमा हुन्छ । नेपालका प्रमुख दलहरूले त्यो सीमा नाघ्न थालेका छन्, नाघेका छन् । उनीहरूले सत्तालाई भ्रष्टाचार, अनियमितता र संगठित अपराधको स्थल बनाएÙ त्यसकै सरक्षणको दौडधुप नै राजनीति हो भन्ने भान पर्न थालेको छ । ६१ किलो सुन, ललिता निवास जग्गा, नक्कली भुटानी प्रकरणहरू त्यसका ज्वलन्त दृष्टान्त हुन् । प्रहरीसँग यस्ता अरू धेरै प्रकरणका फाइल छन्, यसमा शंका छैन । तिनलाई नखोल्ने, खोले पनि कहिले र कता लक्षित हुने गरी भन्ने कुरा राजनीतिक सत्ताका सञ्चालकहरूको तजबिजमा निर्भर छ । केन्द्रीय जाँचबुझ ब्युरो भनिए पनि त्यसले प्रधानमन्त्री र गृहमन्त्रीको आशयभन्दा स्वतन्त्र भएर काम गर्न सक्तैन । अन्यथा यसअघि किन रोकिए नक्कली भुटानी शरणार्थी र ललिता निवासका फाइलहरू ?
२०४६ सालको जनआन्दोलनपछि नेपालले फेरि संसदीय राजनीतिक प्रणालीको अभ्यास गर्न थाल्यो । २०१६–१७ सालमा अठार महिनाको संसदीय काल कस्तो थियो, अब इतिहासमा मात्रै छ । २०४६ सालयता, खास गरी २०४८ सालको चुनावदेखिको कुरा गर्ने हो भने, ज्ञानेन्द्रकालका चार वर्षबाहेक नेपालमा पछिल्लो संसदीय अभ्यास निरन्तर छ । २०६३ सालको आन्दोलनपछिका अन्तरिम संसद् र संविधानसभा कालमा पनि सरकारको स्वरूप मूलतः संसदीय नै थियो । नेपालका कम्युनिस्ट घटकहरू एमाले होस् वा माओवादी, प्रायः सबैले केही सैद्धान्तिक मतलाई कायम राखे पनि संसदीय राजनीतिलाई अंगीकार गरेका छन् । निरंकुश शासनसत्ताबाट फालिएका राणा होऊन् वा राजावादीहरू पनि आआफ्ना
राजनीतिक दलका माध्यमले यो अभ्यासमा छन् । कांग्रेस, कम्युनिस्ट, हिजोका पञ्च सबै संवैधानिक संसदीय प्रक्रियाबाट सत्तामा पुगेका छन्Ù प्रक्रियाबाटै बाहिरिएका छन् । सतहमा हेर्दा, नेपालमा संसदीय अभ्यासले संस्थागत विकास गरेको छैन भन्न मिल्दैन ।
अहिलेको समस्या प्रणालीको होइन, न सिद्धान्तकै । मुख्य कुरा सरकार, संसद् र राजनीतिक दलको लय मिलिराखेको छैन । किन उनीहरूको व्यवहार असंगतिपूर्ण र अन्तरविरोधी भइरहेको छ ? हामीले अपनाएको प्रणालीमा सरकार अर्थात् कार्यपालिका भनेको संसद्को उपज हो । जनताको प्रत्यक्ष मतबाट संसद्को तल्लो सदन प्रतिनिधिसभा निर्वाचित हुने र प्रधानमन्त्रीले प्रतिनिधिसभामा बहुमतको प्रतिनिधित्व गर्ने भएकाले सरकारलाई जननिर्वाचित भनिन्छ । सरकार संसद्प्रति उत्तरदायी त हुनैपर्‍यो । तर संसदीय लोकतन्त्रका पछिल्ला मान्यता र अभ्यासमा सरकार र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू पनि मतदाताप्रति प्रत्यक्ष उत्तरदायी हुनुपर्छ । दुर्भाग्य, हाम्रा दलहरू मतदाताप्रति उत्तरदायी छैनन् । चुनावका बेला ‘जनता जनार्दन’ भनेर भोटका लागि केही मीठा कुरा गरे पनि मतदाता त पार्टीका पिछलग्गू, नेताले जे भन्यो–गर्‍यो त्यसको अनुमोदन गर्ने मात्र हुन् भन्ने परेको छ । पार्टीका अभ्यासहरू त्यस्तै छन् ।
विडम्बना नै भन्नुपर्छ, संविधानसभासहित सातवटा आम चुनाव र संसदीय अभ्यासका बावजुद हाम्रा प्रमुख राजनीतिक दलहरूको व्यवहार सरकार र संसद् दुवैतिर असंगत मात्र बढ्दो छ । चित्त बुझाउने ठाउँ कमै छ । आफ्ना घोषित राजनीतिक उद्देश्यका लागि लामो संघर्ष गरेका खास गरी कांग्रेस र कम्युनिस्ट पार्टीकै व्यवहार किन यस्तो हुन्छ ? संविधानसभाबाट बनाइएको संघीय गणतन्त्रात्मक संविधान जारी भएपछि मात्रको कुरा गर्ने हो भने पनि स्थिति अझ विसंगतिपूर्ण भइरहेको छ । पहिलो चुनावपछि गठित संसद्को आधा कार्यकालमा त्यस्ता विसंगतिहरू चरमचुलीमै पुगे । संसद्को असंवैधानिक विघटनविरुद्ध सर्वोच्च अदालतले दुईदुई पटक हस्तक्षेप गर्नुपर्‍यो । ‘यसलाई प्रधानमन्त्री बनाऊ’ भन्दै नाम तोकेर परमादेश जारी गर्नुपर्‍यो । दोस्रो चुनावपछि गठित यो संसद्ले पनि सत्ता हेरफेरबाहेक खासै गति लिन सकेको छैन । संघीय मात्र होइन, प्रदेश संसद्को हालत पनि उस्तै छ ।
संविधानले नेपाललाई ‘समाजवाद–उन्मुख राज्य’ भनेको छ । यसले सरकारलाई प्रगतिशील र समतामूलक अर्थ–सामाजिक नीति र कार्यक्रम अवलम्बन गर्न बाटो खोलेको छ । लोकतन्त्र र नागरिक स्वतन्त्रताका न्यूनतम मर्यादाभित्र बसेर त्यस्ता नीति ल्याउन सकिन्छ, कानुन बनाउन सकिन्छ । तर पूर्वप्राथमिक विद्यालयदेखि चर्को वर्गीय विभेदको उदाहरण बनेको शैक्षिक संरचनामा केही परिवर्तनकारी विधेयकको उच्चारण गर्दा नै सरकार हच्किनुपर्‍यो । संसद्को चुनाव भयो, तर त्यसले सरकारलाई बलियो मतादेश दिन सकेको छैन । संसद्मा बहुमत भनेको केही मुठीभर नेताहरूको तिकडमबाजी र निजी लाभहानिको हिसाबकिताब मात्र भएको छ । यस्तो पृष्ठभूमिमा बन्ने सरकार र प्रधानमन्त्रीले कुन आत्मविश्वासमा काम गर्ने ? संघ मात्र होइन, कुनै पनि प्रदेशको सरकारले गणितको प्राविधिकताबाहेक शासनाधिकारको राजनीतिक हैसियत पाउन सकेको छैन । सरकारले काम गरेन, बजेटै खर्च भएन भनेर कराउनुको म कुनै अर्थ देख्दिनँ ।
हाम्रा केही सैवैधानिक बाध्यता छन् । जुन चुनाव प्रणाली हामीले अपनाएका छौं, त्यसले पार्टीहरूको सत्ता र विपक्षको ध्रुवीकरण माग गर्छ । तर यो ध्रुवीकरण केही नेताबीच गोप्य कोठामा लेनदेन र रकमी तमसुक होइन, खुला र सार्वजनिक समझदारीमा आधारित हुनुपर्छ । त्यसलाई तोड्ने पक्षलाई जनताले अर्को चुनावमा दण्ड दिने मतदाता संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ । केवल सत्तामा पुग्न र जोगाउन तेस्रो, चौथो, पाँचौं दललाई सरकारी नेतृत्व बाँडचुँड गर्नु अप्राकृतिक राजनीति हो र यसले संविधानमै अन्तर्ध्वंस गर्छ । अहिलेको राजनीति त्यही बाटोमा छ । किन नहुने कोशी प्रदेशमा पहिलो ठूलो दल एमालेले एउटा निश्चित अवधि (कम्तीमा आधा कार्यकाल) सरकारको नेतृत्व गर्न ? हामी दलहरूको अस्थिर चरित्रका कारण अल्प समयमै चुनावमा जान सक्तैनौं । त्यसमाथि त्यहाँ संवैधानिक प्रक्रियामा घात भएको छ । राजनीतिले बाटो बिराउन थालेपछि न्यायालयले रोक्नु त संविधानभित्रकै काम हो । न्यायालयले नरोक्ने हो भने अन्य शक्तिले ठाउँ पाउँछन्, त्यो जो पनि हुन सक्छ । छिमेकीको भूमिका त प्रस्टै छ, यो वा त्यो दल कुनै बाँकी छैनन् । सबैलाई त्यही फेरो चाहिएको छ, राष्ट्रवादको जति दुहाइ दिए पनि ।
नेपालमा मात्र होइन, युरोप र अमेरिकाका केही अभ्यासबाहेक एसिया, अफ्रिकाका अधिकांश देशमा पार्टी नेतृत्व निरंकुश र सामन्ती शैलीकै छ । लोकतन्त्रका आधारभूत मूल्यसँग राजनीतिक दलहरू एकाकार हुन सकिराखेका छैनन् । नेपालमा त फालिसकेको राजतन्त्रलाई अझै संविधान र राजनीतिक दलको विकल्पका रुपमा हेर्ने मानसिकता छ । दलहरूको गैरजिम्मेवारीपन, भ्रष्टाचार र राज्यकोषको दुरुपयोगका कारण संवैधानिक प्रणालीको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । सामन्ती र एकतन्त्रीय पुनरुत्थानका आवाजहरू बढ्न थालेका छन् । यसको अर्थ संविधानका आधारभूत मूल्य र संरचना (लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता, संसद् आदि) प्रति जनताको लगाव कम भएर होइन, संसद् र सरकारमा पुग्ने प्रमुख भनिएका दलहरूको व्यवहारका कारण जनतामा निराशा बढेको हो ।
लोकतन्त्रमा राजनीतिक दल भनेको पार्टीका केन्द्रीय पदाधिकारीहरू बसेर आआफ्ना गुटका मानिसको व्यवस्थापन अर्थात् लाभ र सुविधाको बाँडफाँट होइन । गुटगत आधारमा भागबन्डा गरिने सदस्यताको झुन्ड पनि होइन । कांग्रेसमा अहिले ८ लाख ७० हजार क्रियाशील सदस्य छन्; एमालेमा ८ लाख ५५ हजार, माओवादीमा ७ लाख ५० हजार । यी तीनवटै पार्टीले अर्को चुनावसम्म झन्डै दोब्बर हुने गरी सदस्य बढाउने घोषणा गरेका छन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सदस्य ४ लाख पुर्‍याउने कुरा गरेको छ । दलहरू यी मात्र होइनन्, अरू पनि छन् । यस्तै अनुपातमा सबै दलको सदस्यता वृद्धि गर्ने हो भने नेपालमा कोही स्वतन्त्र मतदाता बाँकी रहनेछैन अथवा पार्टीमा झुठा सदस्यताको पुलिन्दा मात्र रहनेछ । आजको सूचना प्रविधिको युगमा सदस्यताको यस्तो होड अनावश्यक मात्र होइन, हास्यास्पद पनि हो । यस्तै, संसदीय प्रणालीमा जनताप्रति उत्तरदायी दलीय नेतृत्व भनेको अमूर्त कुरा होइन । यो संसद्को गणितीय जोडघटाउमा सीमित विषय होइन । आम चुनावमा अभिव्यक्त लोकप्रिय मतका आधारमा पार्टी नेतृत्व फेरबदल हुने परम्परा पार्टीले विकास गर्नु जरुरी छ । संसदीय दल र पार्टी नेतृत्व एकै ठाउँमा हुनुपर्छ । यसलाई पृथक् गर्दा विसंगति र विभाजन बढ्न सक्छ ।
केही दशकयता बेलायतले विकास गरेको पार्टी नेतृत्वका केही दृष्टान्त मननीय छन् । संसद् (हाउस अफ कमन्स) मा बोरिस जोन्सनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीको सुविधाजनक फराकिलो बहुमत थियो । तर जब शासकीय आचारसंहिता उल्लंघन गरेर आफ्नै कार्यालयमा आयोजित भोजहरू (पार्टीगेट स्क्यान्डल) मा सहभागी भएको समाचार बाहिर आयो, जोन्सनको नेतृत्व विवादित भयो । उनको नेतृत्वप्रति पार्टीभित्रै अविश्वासको प्रस्ताव भयो । अविश्वासका पक्षमा ४० प्रतिशत सदस्य मात्रै थिए । संसदीय दल र पार्टी संगठन दुवैमा उनको पूर्ण बहुमत थियो । तर प्रधानमन्त्रीका रूपमा उनको व्यवहारले पार्टी अलोकप्रिय भएको र अर्को चुनावमा मतदाता समर्थन घट्ने आकलन पार्टीले गर्‍यो । उनले नेताबाट राजीनामा गरे । उत्तरदायी नेतृत्वको यो एउटा उदाहरण हो । हाम्रा पार्टीहरूमा भोट जति घटे पनि नेतृत्वको विकल्प सोच्नै सकिन्न । एउटै व्यक्तिको निरन्तरताका लागि पार्टीका विधिविधानहरू पनि तुरुन्तै परिवर्तन हुन्छन् । विसंगति र विरोधाभासको मुख्य स्रोत नै यही हो ।
गत वर्ष बेलायतमा सत्तारूढ कन्जर्भेटिभ पार्टीको संसदीय दलको नेता चयनको समाचार सबैले सुनेको हुनुपर्छ । कन्जर्भेटिभ होस् वा लेबोर, बेलायतमा संसदीय दलको नेतृत्वका लागि निकै कडा प्रतिस्पर्धा हुन्छ । नेताको चुनाव सांसदहरूको मतमा मात्र सीमित छैन । कन्जर्भेटिभ पार्टीका १ लाख ६० हजार सदस्यले पनि मतदान गरे । लेबोर पार्टीमा पनि हाउस अफ कमन्सका सदस्यका अतिरिक्त अन्य सदस्य र पार्टीमा आबद्ध समाजवादी संगठन तथा ट्रेड युनियनका सदस्यहरूले समेत नेतृत्व चयनमा मतदान गर्छन् । पार्टीमा नेतृत्वको आन्तरिक लोकप्रिय आधार सुरक्षित गर्ने उपाय हो यो । यसरी निर्माण हुने नेतृत्वले आत्मविश्वासका साथ काम गर्न सक्छ । गुटगत मानमर्यादा र व्यवस्थापनमा अलमलिनुपर्दैन । हामीले ठ्याक्कै यही नक्कल गर्नुपर्छ भन्ने होइन, तर नेतृत्वको चयनलाई फराकिलो बनाउन सकिन्छ, मतदाताको चाहनालाई केन्द्रमा राख्न सकिन्छ । त्योभन्दा पनि आफ्नो आचरण र निर्णय विवादित भएपछि पद छाड्ने नैतिक संस्कार बसाल्नुपर्छ । न्यायालयले नै दोषी ठहर गरेपछि त सजायको भागी हुनुपर्छ, आफ्नो नेता भनेर बचाउ गर्ने होइन ।

सम्पादकीय

अर्थतन्त्रका अवरोधहरू हटाऊ

अर्थतन्त्रका बाह्य सूचकहरूमा उत्साहपूर्ण सुधार भइरहँदा आन्तरिक अर्थतन्त्र भने शिथिल छ । रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि, शोधनान्तर स्थिति बचतमा रहे पनि उद्योग–व्यवसाय पूर्ण क्षमतामा चल्न सकेका छैनन्, पूर्वाधार निर्माणको काम ठप्प जस्तै छ, कर्जा माग छैन, निजी क्षेत्रको मनोबल खस्किएको छ । सरकारले आन्तरिक अर्थतन्त्र चलायमान बनाउन केही नीतिगत प्रयास गरेको त छ तर ती पर्याप्त देखिँदैनन् ।
एक वर्षअघि (०७९ असार) मा रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चिति बढ्दो तथा निर्यात घट्दो अवस्थामा थियो, आयात र शोधनान्तर घाटा बढिरहेको थियो । यही कारण सरकारले आयात प्रतिबन्ध र राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) मा नगद मार्जिनजस्ता नीतिगत कडाइको व्यवस्था गरेका थिए । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था जनाउने सूचक शोधनान्तर एक वर्षअघि करिब साढे २ खर्ब रुपैयाँले घाटामा रहेकामा अहिले करिब ३ खर्ब रुपैयाँ (गत असारसम्म) ले बचतमा छ । विदेशी मुद्रा सञ्चिति पनि १५ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । सरकारले आयातमा गरेको कडाइलाई हटाइसकेको छ । यसको अर्थ अर्थतन्त्रमा बाह्य जोखिम हट्यो भन्ने पनि हो ।
हाल बैंक तथा वित्तीय संस्थामा करिब पौने ४ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । गएको आर्थिक वर्षमा रेमिट्यान्समार्फत मुलुकमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२ प्रतिशत बढी हो । चालु खाता घाटामै भए पनि पछिल्ला महिनाहरूमा घाटाको दर घट्दो छ । अर्कातिर पछिल्ला महिनामा आयातसँगै निर्यात घटेको छ । व्यापारका लागि चाहिने पुँजीगत सामान, कच्चा पदार्थ, मेसिनरी पार्टपुर्जा भित्रिने क्रम नै घट्दै जानु अर्थतन्त्रका लागि राम्रो होइन । व्यापार घट्नु भनेको आर्थिक मन्दीको संकेत हो ।
अहिले मुलुकको अर्थतन्त्रमा मूल्यवृद्धि, महँगो ब्याजदर, व्यवसायीको सुरक्षा लगायतका अनेक समस्या छन् । कालो अर्थतन्त्र विकास भएको छ । स्वच्छ र पारदर्शी व्यवसाय गर्नेहरू पलायन हुने स्थिति छ । एलसी खोलेर, कर तिरेर सामान ल्याउने इमानदार व्यापारीहरूले बजारमा चोर बाटोबाट आएको सामानसँग प्रतिस्पर्धा गर्नुपर्छ, जसका कारण उनीहरूमा निराशा बढ्दो छ । अधिकांश उद्योग आधाभन्दा कम क्षमतामा चलिरहेका छन् । थप लगानी गर्ने आत्मविश्वास उद्योगीमा छैन । वैदेशिक लगानी भित्रिने क्रम निरन्तर घटिरहेको छ । सरकारी खर्च र आयको सन्तुलन नमिल्दा सरकारी ढुकुटीमा चाप परेको छ । वैदेशिक अनुदान तथा सहायताको अवस्था पनि निराशाजनक छ । अर्थतन्त्रमा शिथिलता देखिन थालेको करिब डेढ वर्ष भइसक्दा पनि सुधारका लागि प्रभावकारी कदम चाल्न सरकारले तदारुकता देखाएको छैन ।
चालु पुँजी कर्जा सम्बन्धी कार्यविधिमार्फत अधिक नियमन, उद्योग, व्यापार, व्यवसायमा चर्को ब्याजदरको ऋण, प्रमुख औद्योगिक करिडोरहरूमा दैनिक विद्युत् कटौती, उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्स उपयोगको नीतिगत अभाव, प्रसारण लाइन अभावमा बिजुली खेर, उच्च मूल्यवृद्धि र न्यून पुँजीगत सरकारी खर्च अर्थतन्त्रमा अहिलेका मुख्य अवरोध हुन् । लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट सरकारले गत साउन अन्तिम साता खोलेको छ । कित्ताकाट खोलेपछि अर्थतन्त्रका सबै अवरोध समाधान हुन्छन् भन्दै प्रधानमन्त्री र मन्त्रीहरूले चर्चा गर्दै आएका छन् । कित्ताकाट खुल्दा घरजग्गाको किनबेच बढ्ने भएकाले त्यस क्षेत्रमा केही चहलपहल बढ्छ तर यसले मात्र सिंगो मुलुकको अर्थतन्त्र चलायमान बनाउन सक्दैन । अहिले अर्थतन्त्रको समस्या घरजग्गासँग भन्दा पनि उद्योगी व्यवसायी र उपभोक्ताको मनोबलसँग गाँसिएको छ । सरकारले उद्योगी व्यवसायीको मनोबल र समग्र बजारमा माग बढाउने विशेष नीतिगत व्यवस्था गर्न ढिला भइरहेको छ ।
बाह्य सूचकमा प्राप्त उपलब्धिले प्रदान गरेको थप खर्च गर्ने अवसर (फाइनान्सियल स्पेस) लाई भरपूर उपयोग गर्नुपर्छ । मुलुकभित्र र बाहिरबाट जतिसक्दो धेरै स्रोत संकलन गरेर पुँजीगत खर्च बढाउनुपर्छ । विदेशबाट तत्काल लगानी जुटाउन नसके सरकारले राष्ट्र बैंकबाट ओभरड्राफ्ट लिएर समेत थप लगानी गर्न सक्छ । राष्ट्र बैंकले पनि सहज कर्जा नीति र पुनर्कर्जामार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न सक्छ । आन्तरिक कच्चा पदार्थमा आधारित उद्योग–व्यवसायको विकास र विस्तारलाई सरकारले प्राथमिकता दिनुपर्छ । यसले रोजगारी, राजस्व संकलन, नागरिकको आयआर्जनमा पनि बढोत्तरी ल्याउँछ र मुलुकको अर्थतन्त्र पनि दिगो हुन्छ । नियमनमा अति कठोर र सुधारमा अनुदार नीतिले अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्दैन । आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन एवं आयात विस्थापन र रोजगारी सृजना गर्न सरकारले जतिसक्दो छिटो कदम चाल्न आवश्यक छ ।

सम्पादकलाई चिठी

अर्थमन्त्रीको अन्यायप्रति सर्वोच्चको न्याय

गत ७ गतको कान्तिपुरमा प्रकाशित ‘सर्वोच्चले सम्झायो सांसदको भूमिका निर्वाचन क्षेत्रको बजेट रोक’ शीर्षकको समाचारले जिज्ञासा जगायो । समाचार बमोजिम निर्वाचन क्षेत्रका दलगत कार्यकर्ता तथा आसेपासेलाई रकम बाँड्ने काम प्रतिनिधिसभाका सांसदको भूमिकाभित्र नपर्ने भनेर बजेटमा रोक लगाउने काम प्रशंसनीय छ । सर्वोच्च अदालतलाई धन्यवाद । उच्च ओहोदाका जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकारप्रति न्यायालयले सम्झाउनुपर्ने अवस्था सरकारका अर्थमन्त्रीले सृजना गरेका हुन् । उच्च ओहोदालाई सम्झाउनुपर्ने परिस्थिति बन्नु दुःखलाग्दो कुरा हो । किनभने संघीय र प्रदेशस्तरका सांसदको काम र भूमिकामा नपर्ने बजेट वितरणको काम गर्न खोज्नु आफैंमा गैरसंवैधानिक हो । सस्तो लोकप्रियताका लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि बजेट खर्च नगर्न सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाउँदा अर्थमन्त्रीले यसको नैतिक दायित्व लिनुपर्ने हो । उक्त कार्यक्रम यसअघि नै खारेज गरिसकेको थियो । तर अर्थमन्त्री प्रकाशशरण महतले चालु आवको बजेट भाषणमा पुनः ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ नाम राखेर हरेक सांसदले बाँड्न पाउने गरी वितरणमुखी बजेट विनियोजन गरे । यसअघि पनि यसको सर्वत्र विरोध भएको थियो । चौतर्फी विरोध भएको असंवैधानिक कामविरुद्ध सर्वोच्चले शक्ति पृथकीकरणको सिद्धान्त, व्यवस्थापकीय कार्यको जिम्मेवारी, सांसदको भूमिका, योजना आयोग र सम्बन्धित मन्त्रालयको जिम्मेवारीलाई स्मरण गराउनु निकै सान्दर्भिक रहेको छ । तर योजनाबद्ध विकासको अवधारणा, सुशासन र जवाफदेहिताको मान्यताका बारेमा स्मरण गराउनुपर्ने अवस्था नैतिकताहीन र लज्जास्पद घटना होइन र ? न्यायालयको यो आदेश साँच्चिकै न्यायसंगत र प्रभावकारी देखिएको छ ।
 गरिब जनताले तिरेको एक/एक रुपैयाँबाट जम्मा भएको कर १८ अर्ब ३२ करोडभन्दा बढी रकम दुरुपयोग हुनबाट जोगिएको छ । न्यायालयको यो आदेशले कार्यकारी अधिकार संविधानले संघीय सरकार र प्रदेश सरकारलाई दिएको संकेत पनि गरेको छ । त्यस्तै संघीय र प्रदेश सांसदको काम व्यवस्थापकीय हुने स्मरण गराइएको छ । सांसद विकास कोष कार्यक्रमले सांसदहरूबीच नै विभेद गरेको कुरालाई पनि संकेत गरिएको छ । मुलुकको संविधान बमोजिम शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित लोकतान्त्रिक शासन प्रणालीलाई अंगीकार गरेको छ । अदालतले कार्यकारिणी अधिकार संघीय मन्त्रिपरिषद् र प्रदेशमा प्रदेश मन्त्रिपरिषद्मा रहनेमा जोड दिँदै संघ तथा प्रदेश सांसदलाई कार्यकारिणी अधिकार नभएको पनि स्पष्ट व्याख्या गरेर अर्थमन्त्री र सांसदको आँखा खोलिदिएको छ । विकास निर्माणको कामले सुशासनलाई प्रवर्द्धन गर्न यकिन नहुने, विकास योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी स्वीकृत अभ्यास एवं मान्यता विपरीत हुने गरी सीमित आर्थिक क्षमता भएका मुलुकमा केही जनप्रतिनिधिको तजबिजमा राष्ट्रिय ढुकुटीबाट रकम खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा तथा कानुनसम्मत हुँदैन । एकातिर सांसदहरू विधि निर्माता तर विकास एजेन्ट होइनन् । अर्कातिर सरकारी कोष खर्च गर्दा अपनाउनुपर्ने आर्थिक नियम, पारदर्शिता र जवाफदेहिता विपरीत हुने भन्दै सांसदमार्फत बजेट खर्च गर्न रोक लगाइएको छ । अतः कार्यकारिणी अधिकार नभएका सांसदलाई विरोधका बावजुद विकासका एजेन्टसरह वितरणमुखी कार्यक्रमलाई संसद्बाटै फिर्ता गर्नु उचित हुन्छ । सर्वोच्चले सस्तो लोकप्रियताका लागि यस्ता वितरणमुखी कार्यक्रम नल्याउन अर्थमन्त्रीलाई पाठ सिकाएको छ ।
गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

सम्पादकलाई चिठी

यी पाँच काण्डको पनि जाँचबुझ थालौं

सरकारले आगामी असोज ५ गते उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा नयाँ जाँचबुझ समिति गठन गर्ने घोषणा गरेको छ । प्रमुख प्रतिपक्षको माग अनुसार जाँचबुझ समिति बनाउने सहमति गरेर संसद् सञ्चालन गरेको छ । उक्त सहमतिमा सुन तस्करीको अनुसन्धान र मुद्दा दायर गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई नै अधिकार प्रदान गरिएको छ । भविष्यमा सुन तस्करी सधैंका लागि अन्त्य गर्न अवलम्बन गर्नुपर्ने उपायसहितको सुझाव पेस गर्न जाँचबुझ आयोगलाई अधिकार दिइएको छ । सुन तस्करीको कारण लामो समयदेखि राजस्व मात्र गुमेको छैन, मुलुकको बदनामसमेत भैरहेको छ । नेपाल तस्करहरूको मुलुकको रूपमा चिनिन थाल्नु दुःखको कुरा हो । यो पृष्ठभूमिमा नयाँ जाँचबुझ आयोग तस्करीको जरैसम्म पुग्नुपर्छ । अन्य काण्डहरूको पनि छानबिन र जाँच गर्दा आगामी दिनमा यस्ता घटना हुँदैनथे कि ? सांसद प्रदीप पौडेलले पनि समितिलाई अन्य काण्डहरूको पनि जाँचबुझ गर्ने अख्तियारी दिनुपर्ने माग गरेका छन् । आम नागरिक भ्रष्टाचार र अनियमितताको विपक्षमा भएका बेला सुशासनको पक्षमा सर्वदलीय सहमति आवश्यक छ । त्यसैले तल उल्लिखित घटनाको पनि जाँचबुझ भए मुलुकको हितमा ठूलै उपलब्धि हुने थियो । छानबिनले राष्ट्रिय सम्पत्तिको संरक्षण हुनेछ ।

१. गोकर्ण फरेस्ट लिज प्रकरण: ओली सरकारले करारको अवधि ६ वर्ष बाँकी हुँदै यती ग्रुपलाई फाइदा पुग्ने गरी गोकर्ण फरेस्टको करिब २९ सय रोपनी जग्गा गोकर्ण रिसोर्टलाई कौडीको मूल्यमा दिएको घटनाको यथार्थ जानकारी सार्वजनिक हुनु आवश्यक छ । २५ वर्षका लागि लिजमा दिएर राष्ट्रलाई अर्बौं घाटा पारेको आरोप निर्णयकर्तालाई लाग्दै आएको छ । त्यस्तै नेपाल ट्रस्टको अन्य जग्गा लगायतको सम्पत्ति लिजमा दिएको विषयमा प्रश्न उठेको छ । त्यसको जाँचबुझबाटै निराकरण गर्न सकिन्छ ।

२. झापाको गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरणमा अर्बौंका घोटाला भएका तथ्यहरू बाहिर आएका छन् । भूमिसुधारको मापदण्डभन्दा बढी भएको जग्गालाई पुनः व्यक्तिगत बनाउँदै बिक्री गरी आर्थिक अपचलन गरेको विषय जाँचबुझ गर्नुपर्छ ।

३. यती र ओम्नी काण्डको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ । यती ग्रुपका मालिक आङछिरिङ शेर्पाको स्मारक बनाउन केपी ओली सरकारले नियमविपरीत लुम्बिनी विकास क्षेत्रभित्रको जग्गा दिएको विषय सार्वजनिक भइसकेको छ । त्यस्तै आङछिरिङकै नाममा तेह्रथुमको चुमान विमानस्थलको नामकरण गर्ने निर्णय गरिएको थियो । ती दुवै कुराको छानबिन गरिनुपर्छ ।

४. योगेश भट्टराई नागरिक तथा पर्यटनमन्त्री भएको बेलामा राजदरबारभित्रको जग्गामा होटल खोल्न र पशुपति धर्मशाला सञ्चालन गर्न नियमविपरीत बतास समूहलाई ठेक्कामा दिइएको विषय छानबिन हुनुपर्छ ।

५. माओवादी लडाकुको क्यान्टोनमेन्टभित्र अनियमितता भएको विषयमा पनि जाँचबुझ आयोगलाई अधिकार दिएमा राष्ट्रको हित हुनेछ ।

गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

Page 7
अन्तर्वार्ता

'सामाजिक सञ्जालमा स्वनियमन नभए राज्यले नियमन गर्छ'

पार्टीभित्र प्राविधिकतर्फ जिम्मेवारी लिएको अनुभव नभए पनि माओवादी नेतृ रेखा शर्माले सात महिनायता सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हााकिरहेकी छन् । उनी सरकारकी प्रवक्तासमेत हुन् । त्यसैले उनी सूचना प्रविधि सम्बन्धी कामदेखि सरकारको हरेक कामकारबाहीको प्रतिरक्षा गर्नेसम्मको जिम्मेवारीमा छिन् । पछिल्लो समय समग्र सरकारको मात्रै नभएर सञ्चार मन्त्रालय र मातहतका विभिन्न निकायले लागू गरिसकेका र गर्न खोजेका विभिन्न विषय विवाद र सार्वजनिक बहसको हिस्सा बनिरहेका छन् । यसै सन्दर्भमा सरकारले संशोधन गर्न खोजेको दूरसञ्चार ऐन, हालै पारित भएको साइबर सुरक्षा नीति, कार्यान्वयन गर्ने तयारी भइरहेको टेरामक्स प्रविधि, परीक्षणकै क्रममा रहेको फाइभजी, सामाजिक सञ्जाल नियमन तयारी, सार्वजनिक सेवा प्रवाहमा विद्युतीय सुशासनका प्रयास र समस्या लगायत विषयमा मन्त्री शर्मासाग कान्तिपुरका लागि कृष्ण आचार्य र सजना बरालले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सम्हालेको ७ महिना भयो । एकातिर प्राविधिक, अर्कातर्फ आम सञ्चार माध्यमसँग सम्पर्कमा रहनैपर्ने मन्त्रालयमा काम गर्दाको अनुभव कस्तो छ ?
प्रविधि सम्बन्धी मन्त्रालयमा म गैरप्राविधिक मान्छे आएकी थिएँ । मलाई सुरुमा भाषा बुझ्न मिहिनेत गर्नुपर्‍यो । विज्ञहरूसँग छलफल र भेटघाट मनग्गे गरें । सरकारले सुशासन, भ्रष्टाचार, सेवा प्रवाहलाई मुख्य एजेन्डा बनाएको छ । सरकारको समग्र कार्यसम्पादनलाई सही ढंगले स्थापित वा सञ्चार गर्ने कुरामा प्रवक्ताको हिसाबले पनि मैले जिम्मेवारी सम्हाल्दै आएकी छु । सरकारले गरेका समग्र काममा म सन्तुष्ट छु तर सञ्चारमन्त्रीका रूपमा भने धेरै गर्न सकें भन्ने लागेको छैन, सन्तुष्ट भइसकेकी छैन । केही काम त पक्कै भएका छन् ।
विगतमा सरकार सञ्चालन गर्नेहरूका गल्ती–कमजोरीका कारणले पनि होला, हामी सरकारमा आउँदा ‘अहिलेको लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थाभन्दा पहिलेकै ठीक हो कि क्या हो, जो आए पनि त्यस्तै रहेछ, नेता/कर्मचारी फटाहा हुन्’ भन्ने बुझाइ जनस्तरमा थियो । हामीले केही कामको थालनी गर्‍यौं, जसले लोकतान्त्रिक गणतन्त्रको विकल्प सुदृढ लोकतान्त्रिक गणतन्त्र मात्रै हो भन्ने स्थापित भएको छ । ठूलालाई केही नहुने, सानालाई जे पनि हुने हिजोको संस्कृतिलाई तोड्न सकेका छौं । अहिलेको व्यवस्थाप्रतिको प्रहार न्यूनीकरण गर्दै जनता र सरकारलाई जोड्नु यो सरकारको सबैभन्दा ठूलो उपलब्धि हो ।

यस मन्त्रालयको क्षेत्राधिकारमा पर्ने दूरसञ्चार, सूचना प्रविधि, चलचित्र, सञ्चार क्षेत्रको समग्र अवस्था कस्तो पाउनुभएको छ ? कुन–कुन क्षेत्रमा तत्काल सुधार गर्नैपर्ला ?
सञ्चार, सूचना प्रविधि, चलचित्र, हुलाक लगायत मूलभूत रूपमा ६ वटा क्षेत्र यस मन्त्रालयमातहत छन् । यिनका कानुन निकै पुराना छन् । एकदमै परम्परागत तवरले हुलाक चलाइरहेका छौं । सूचना प्रविधि सम्बन्धी विधेयक संसद्बाट फर्किएको छ । २०५३ सालमा बनेको दूरसञ्चार ऐनले काम चलाइरहेका छौं ।
आमसञ्चार सम्बन्धी विधेयकलाई विज्ञहरूसँगको छलफलपछि फाइनल गरेका छौं, त्यसलाई अब सार्वजनिक परामर्शका लागि वेबसाइटमा राख्छौं । हामीसँग आईटी सेना नभई नहुने भइसकेको छ किनभने समग्र राष्ट्रको सार्वभौमिकता यसमा जोडिएको छ । सूचना प्रविधिमा यत्रो परिवर्तन हुँदासमेत हामीकहाँ साइबर सुरक्षा सम्बन्धी कानुन छैन । भर्खरै साइबर सुरक्षा नीति पारित गरेका छौं । कानुन बनाएर साइबर सुरक्षा केन्द्र स्थापना गर्न गृहकार्य थालिसक्यौं ।
चलचित्र सम्बन्धी ऐनको पनि मस्यौदा तयार भइसकेको छ । सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुनका लागि छलफल सुरु भइसकेको छ । दूरसञ्चार ऐन–२०५३ संशोधनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेका छौं । सूचना प्रविधि सम्बन्धी विधेयकमा भने मैले पाना पल्टाउन नपाउँदै अनेक अफवाह फैलिए । यति धेरै स्वार्थ समूह हुँदा रहेछन्, काम गर्नै गाह्रो । राज्यप्रति इमानदार भएर काम गर्न खोज्दा मलाई चारैतिरबाट आक्रमण भयो । कतिपय विवादित विषयलाई बाहेक गरेर भए पनि सूचना प्रविधि विधेयकलाई अघि बढाउने सोचेकी छु ।
हामीसँग दुई थरी बजेट हुँदो रहेछ । एउटा, अर्थ मन्त्रालयले विनियोजन गरेर दिने बजेट । अर्को, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले आफैंले प्रयोग गर्न सक्ने, जुन अर्थले दिने बजेटभन्दा ठूलो राशिको हुन्छ । आईटी क्षेत्रमा सयभन्दा बढी सफ्टवेयर तथा हार्डवेयर कम्पनी छन्, ६६ हजारले काम गर्छन् र ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा भित्रिरहेको भन्ने छ । तर, आम रूपमा मान्छे बेरोजगार छन् । सूचना प्रविधि र रोजगारी सृजनालाई जोड्न प्राधिकरणसँग मिलेर आईसीटीको ज्ञान दिन भोकेसनल ट्रेनिङ कार्यक्रम चलाउन बजेट विनियोजन गरेका छौं । सूचना प्रविधिमा महिलाको क्षमता अभिवृद्धि गर्ने, विश्वविद्यालयसँग सहकार्य गरेर आईटीका विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम राखेका छौं ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन । सञ्चार मन्त्रालयले मात्रै गरेर हुने रहेनछ । टेलिमेडिसन सेवाका लागि हामी प्रविधि दिन सक्छौं तर डाक्टर स्वास्थ्य मन्त्रालयले दिनुपर्छ । स्मार्ट स्कुल चलाउन हामी प्रविधि दिन सक्छौं, शिक्षक र पाठ्यक्रम शिक्षा मन्त्रालयले दिनुपर्छ । अन्तरनिकाय समन्वयमा समस्या छ । त्यसका लागि युनिट बनाएर छलफल गर्न खोज्दै छौं । एउटा डिजिटल च्याम्पियन कार्यक्रम चलाऔं कि भन्ने लागेको छ । हामीकहाँ जति पनि कम्पनी छन्, आठ वटा सेक्टर दिई प्रतिस्पर्धा गराएर ८/१० वटा छान्ने र तिनलाई गाइड गर्न लगाउने हो कि भन्ने लागेको छ । हामीकहाँ कृषि मेला, व्यापार मेला हुन्छ तर आईटी मेला हुँदैन रहेछ । क्यानले अलिअलि गर्न खोजे पनि त्यो व्यावसायिक दृष्टिले मात्रै हुने रहेछ । ज्ञान आदानप्रदान गर्दै भोलिका दिनका लागि दिशानिर्देश गर्ने गरी एउटा व्यवस्थित आईटी प्रदर्शनी गर्ने योजना छ ।
अबको भविष्य आईटीकै हो । यो हाम्रो देशसँग मात्रै सम्बन्धित छैन । यसले भूपरिवेष्टित भन्ने सोचाइ पनि तोड्दो रहेछ । कपडा कारखाना खोल्दा हामीलाई अन्य देशसँग प्रतिस्पर्धा गर्नुपर्ला तर यसमा पर्दैन रहेछ । भारतको काम यहीँ घरमा बसेर गर्न सक्ने रहेछौं । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । हुलाकलाई ई–कमर्ससँग जोड्न खोज्दै छौं । यसका लागि विद्यमान जनशक्तिले सम्भव नहुने भएकाले हालसम्म काम गर्नुभएकालाई ससम्मान बिदा दिने र एक पालिका एक हुलाकको नीतिमा जाने योजना छ । स्वदेशी फिल्मलाई बढावा दिनुपर्नेछ । हिजो ‘आमा’ फिल्म बन्ने बेलाको कानुनले आजको डिजिटल फिल्म युगमा छेउटुप्पै छुन नसक्ने रहेछ । कतिपय ठाउँमा दूरसञ्चार सेवा नपुगेको रहेछ भने कतै सेवा पुगेर पनि डिभाइस चलाउन नसक्ने अवस्था रहेछ । यो डिजिटल डिभाइड कम गर्न खोजेका छौं । एउटा प्रदेशका दुइटा जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त घोषणा गर्ने कार्यक्रम राखेका छौं । देशैभरि फोरजी सेवा चलिरहेको छ, अब फाइभजीमा जाने प्रक्रिया सुरु गरिहाल्छौं । आम सञ्चार बडो कष्टका साथ चलेको हामीले बुझेका छौं । मिडियालाई उद्योगका रूपमा विकास गर्न चाहेको कुरा सरकारको साझा न्यूनतम कार्यक्रममै आइसकेको छ । मिडियालाई टिक्न सक्ने बनाउन सहजीकरण गर्न खोज्दै छौं ।
आम सञ्चारको कानुन पनि छापा माध्यमका बेलाको छ, पुरानो । अहिले डिजिटल मिडिया आइसके । प्रिन्ट पनि डिजिटल नचलाई टिक्न नसक्ने अवस्था छ । यसलाई पनि नियमन गर्न र करको दायरामा ल्याउन प्रयास भइरहेको छ । मिडिया काउन्सिल विधेयकमाथि छलफल भइरहेको छ ।

कतिपय मुलुक सार्वजनिक सेवा 'मानवरहित, कागजरहित' अवस्थामा पुगिसके । कतिपयले विद्युतीय माध्यमबाट सेवा दिँदै आएका छन् । हाम्रोमा विद्युतीय सुशासनको अवस्था कस्तो छ ? केकस्ता नयाँ पहल भएका छन् ?
यो सरकार गठन भइसकेपछि दुई–तीन कुरामा तात्त्विक अन्तर देखिएको छ । पासपोर्ट र नागरिकता लिन लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अनलाइन सेवाले मान्छेलाई धेरै राहत हुँदो रहेछ । एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) का लागि समय मिलाइदिनू भनेर धेरैले फोन गर्नुहुन्थ्यो । अहिले अनलाइनबाट फर्म भरेर अनलाइनमै सर्टिफिकेट आउँछ, आफैं प्रिन्ट गरेर निकाल्न सकिन्छ, कसैलाई भनसुन गरिरहनै परेन । थुप्रै निकाय अनलाइनमा जान बाँकी छन्, ती बिस्तारै जान्छन् । अनलाइनमा गइसकेकामा पनि समस्या छन् तर हामीले एकै चोटि सबैलाई अनलाइनमा लग्न नसकेकाले अफलाइन सेवा पनि दिनैपर्ने बाध्यता छ । अहिले पूर्ण रूपमा अनलाइनमा जान्छौं, कागज बन्द गर्छौं भन्न सकिने अवस्था छैन । हाम्रा सबै नागरिक अनलाइन सेवा लिन सक्ने भइसकेका छैनन् । सबैमा पहुँच पुर्‍याउने गरी प्रयत्न जारी छ । हाम्रो सेवा प्रवाह कागजरहित र मानवरहित हुने समय पक्कै आउनेछ । त्यसले धेरै विकृति, विसंगति अन्त्य गर्नेछ ।

अनलाइनमार्फत सरकारी सेवा प्रवाह तुलनात्मक रूपमा बढेको त छ तर अनलाइनमा पनि कोटा प्रणाली, लाइन लाग्नैपर्ने अवस्था छ । सर्भर डाउन हुने समस्याको असर त जनताको सेवा प्रवाहदेखि अन्तर्राष्ट्रिय विमानस्थलको उडानसम्मै परेको छ । यसमा किन सुधार हुन नसकेको हो ?
प्यान कार्डका लागि अनलाइनमा फर्म भरे पनि कार्ड लिन कार्यालयमा गएर लाइन लाग्नैपर्छ । यस्तो स्थितिमा अनलाइन हुनुको अर्थ भएन । प्रयोगका हिसाबले हामी बीच–बीचको अवस्थामा छौं । यसमा सुधार चाहिएको छ । अर्को कुरा, सरकारी निकायका अनलाइन र सूचना प्रविधि प्रणालीको डिजाइनमा एकरूपता नहुँदा मान्छेलाई पहुँचमा सजिलो भएको छैन । स्थानीय तहदेखि संघसम्मका सबै प्रणालीलाई एउटै वेब डिजाइनमा लाने निर्णय भएको छ, सूचना प्रविधि विभागले काम गरिरहेको छ ।
सर्भर डाउनको सन्दर्भमा, हाम्रा सबै सरकारी डाटा एकै ठाउँमा छैनन् । विमानस्थलको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुन पुग्यो, जसका कारण सूचना प्रविधि मन्त्रालयको आलोचना भयो । तर, अध्यागमनको सूचना प्रविधि प्रणाली विभाग आफैंले चलाउने हो, उसको सर्भरमा हाम्रो पहुँच छैन । सञ्चार मन्त्रालय अन्तर्गतको डाटा सेन्टर (जीआईडीसी) त त्यसको स्टोर रुमजस्तो मात्रै हो । हामीले रेखदेख गरिदिने हो । परराष्ट्र अन्तर्गत राहदानी सम्बन्धी सूचना प्रविधि व्यवस्थापन पनि तेस्रो पक्षसँगको सहकार्यमा विभाग आफैंले गर्छ । त्यसको सर्भर जीआईडीसीमा भए पनि हाम्रो पहुँच छैन । केही समयअघि मात्रै लोक सेवा आयोगको डाटा हराएको खबर आयो । त्यसबारे हामीलाई पनि सोधियो । सेना, प्रहरीको डेटा सेन्टरमा पहुँच नहुनु त स्वाभाविक होला तर अन्य सरकारी निकायका प्रणाली एकै ठाउँबाट चलाउनुपर्छ भन्ने हाम्रो बुझाइ हो । त्यसैले अहिलेको डाटा सेन्टरलाई सूचना प्रविधि विभागसँग गाभेर दुवैलाई बलियो बनाउने प्रयासमा छौं ।

संघीय सरकारका निकायसँगै प्रदेश र स्थानीय तहका विभिन्न सार्वजनिक सेवाप्रदायक निकायबीच सूचना प्रविधि सम्बन्धी कार्यक्रममा अन्तरआबद्धता, समन्वय र सहकार्यको अभाव देखिन्छ । वेबसाइट निर्माणदेखि सफ्टवेयर खरिदसम्मको खर्चमा मनपरी भएको देखिन्छ । यसलाई नियमन गर्न र पारदर्शिता बनाउन के गर्नुभएको छ ?
सरकारी सर्भर, डाटा केन्द्रहरू कहाँबाट कसरी चलाउने भन्ने विषयमा नीतिगत स्पष्टता छैन । अहिले स्थानीय तहपिच्छेका सफ्टवेयर छन्, प्रदेश र संघमा पनि कार्यालयपिच्छेका सफ्टवेयर छन् । यसले गर्दा खर्च बढी भइरहेको छ भने पहुँचमा पनि गाह्रो भएको छ । निजी कम्पनीका हकमा त नसकिएला तर सरकारी सूचना प्रविधि प्रणालीलाई एउटै डिजाइन, एउटै प्लाटफर्मबाट सञ्चालन गर्न सकियो भने खर्च कटौती हुन्छ । सूचना प्रविधि विभागले सबै स्थानीय तहका लागि एउटा प्लाटफर्म बनाइदियो भने स्थानीय तहले आ–आफ्नो ठाउँमा इन्स्टल गर्ने र मर्मतको जिम्मा विभागलाई दिने व्यवस्था गरे धेरै समस्या हल भइहाल्छ । हामी अहिले यति कामका लागि निजी संस्था खोजेर अलमलिरहेका छौं । तेस्रो पक्षलाई दिँदा हाम्रा डिभाइस हाम्रै कमान्डमा नहुने समस्या छ । किन्ने बेलामै मर्मतसमेतको जिम्मा कम्पनी स्वयंलाई दिने गरिएको छ । त्यो मर्मत गर्नुभन्दा नयाँ किन्न सस्तो पर्ने अवस्थासमेत आएको देखियो । यसमा व्यापक सुधारको खाँचो देखेकी छु ।
अझ हामीले त समग्र सरकार सञ्चालनका लागि एउटा डिजिटल प्लाटफर्म नै बनाउनेबारे पनि विचार गर्दै छौं । जसरी फेसबुक एउटा प्लाटफर्म हो र हामी सबै त्यसमा जोडिएका छौं, नेपाल सरकारको पनि त्यस्तै एउटा प्लाटफर्म बनाएर सबै निकायलाई त्यसमा जोड्ने हो । यो प्लाटफर्म निर्माण गर्न सकियो भने अहिले भइरहेका अनियमितता र नकारात्मक गतिविधि रोकिन्छन् । साथै, उपकरण, सेवा, प्रणाली खरिद र मर्मतमा हुने सरकारको अधिक खर्च पनि जोगिन्छ । यसका लागि समय लाग्छ किनभने यो प्राविधिक कुरा पनि भयो र अन्तरनिकाय सहकार्य चाहिन्छ । उस्तै परे प्रधानमन्त्री कार्यालयले सहकार्य गरिदिनुपर्छ ।

सरकारी वेबसाइट एकपछि अर्को साइबर आक्रमणमा पर्ने समस्या छ । यस्ता घटना बारम्बार दोहोरिरहनुमा सरकारको उदासीनता, पूर्वाधार र जनशक्तिको अभावमध्ये कुन बढी हो ?
सूचना प्रविधि सम्बन्धी स्मार्ट मान्छे सरकारी सेवामा आउँदैनन् । हाम्रो सेवासुविधाभन्दा धेरै उनीहरूले बाहिरै कमाउँदा रहेछन् । त्यसकारण सरकारी सूचना प्रविधि सेवालाई हाइब्रिड मोडलमा लैजान छलफल गर्दै छौं । अहिले निजामती सेवा ऐन बन्दै छ, त्यसमा सूचना प्रविधि सेवा समावेश गर्नेबारे सोचेका छौं । अलग्गै सेवा समूह बनाएर जनशक्ति आकर्षण गर्न चाहेका छौं । त्यसरी पनि भएन भने यहाँका स्थायी कर्मचारीसँगै विज्ञ आउटसोर्सिङ गरेर हाइब्रिड मोडलमा जानुपर्छ । सेवासुविधाका सन्दर्भमा तिनलाई निजामती ऐनले नबाँध्ने गरी प्रबन्ध मिलाउँछौं ।
ह्याकिङ, साइबर आक्रमणको समस्यालाई सम्बोधन गर्न भनेर हालै मात्र पारित साइबर सुरक्षा नीतिले परिकल्पना गरेको साइबर सुरक्षा केन्द्र जतिसक्दो चाँडो बनाउनैपर्ने अवस्था छ । अब हामीलाई आईटी सेना चाहिन्छ । हाम्रो स्वायत्तता, सार्वभौमसत्ताको सवालमा कोही पनि बन्दुक बोकेर लड्न आउँदैन, अबको युद्ध भूमिमा, सीमानाकामा हुँदैन, सूचना प्रविधिमार्फत हुन्छ । त्यसको प्रतिरक्षाका लागि दक्ष जनशक्ति निर्माण र प्रयोगमा ल्याउन जरुरी छ । यस विषयमा अलि गम्भीरतापूर्वक नै मन्त्रालयमा छलफल भइरहेको छ । यसमा सिंगो सरकार लाग्नुपर्छ । अन्तरएकाइ समन्वय चाहिन्छ ।

साइबर आक्रमणदेखि विद्युतीय सुशासन कायम राख्नसम्म भनेर चार वर्षअघि सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाइसकेको छ । प्रधानमन्त्रीको नेतृत्वमा अन्तरनिकाय समन्वय गर्ने विषय छ । २०७६ सालमा यो अवधारणा कार्यान्वयन गर्न प्रधानमन्त्री अध्यक्ष र सञ्चारमन्त्री उपाध्यक्ष हुने निर्देशक समिति बनाइएको थियो । समितिको बैठक बसेको छैन । प्रधानमन्त्री र तपाईंले चासो नै नदिएको देखिन्छ नि ?
एउटा अनौपचारिक बैठक बस्यौं । यो अवधारणा लागू हुन सकेको छैन । यो फ्रेमवर्क प्रधानमन्त्रीको नेतृत्वमा छ, यसको एउटा समिति मुख्य सचिवको नेतृत्वमा छ, अर्को एउटा युनिट सञ्चार सचिवको नेतृत्वमा छ, सञ्चारमन्त्रीको नेतृत्वमा पनि केही छ । मन्त्रालयपिच्छेका आईटी शाखा, विभाग छन् । कामको प्रकृति उस्तै संरचना धेरै हुँदा ओभरल्यापिङ छ । स्पष्ट कार्यविभाजन गर्नुपर्छ । तर यो फ्रेमवर्कलाई लागू गर्ने ढंगको संरचना बनेको छैन, बनेका संरचना पदेन खालका छन् । प्रधानमन्त्री, मन्त्री, सचिवजस्ता नन–टेक्निकल मान्छे हाबी भएपछि कसरी काम हुन्छ ?
खासमा यो कार्यक्रम विश्व बैंकको ऋण अनुदानमा सञ्चालन हुने हो । त्यसमा एउटा कार्यक्रमचाहिँ अप्टिकल फाइबर बिछ्याउनेबारे थियो । नेपाल दूरसञ्चार प्राधिकरणलाई पैसाको समस्या छैन, उसले ऋण लिन चाहेन । ऋण लिन जबरजस्ती गर्ने कुरा पनि भएन । प्राधिकरणले ऋण लिँदैन भने त्यो पैसालाई कहाँ लैजाने भनेर हामीले विश्व बैंकसँगको सम्झौता रिभिजन गर्नुपर्ने अवस्था आयो । त्यो रिडिजाइनको काम लगभग सकिएको छ । अब यसलाई अर्थ मन्त्रालयमा पठाउँछौं । हाम्रो पालामा जसरी भए पनि सुरुआत गरौं भनेर लागिपरेका छौं ।

अर्कातर्फ सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) खारेज गर्ने घोषणा गरेको छ । नेपालको डिजिटल इकोसिस्टम तयार पार्ने, डेटा सेन्टरको क्षमता अभिवृद्धि गर्ने भनिरहँदा यसको मूलभूत निकाय नै खारेज गरिएको छ । सरकारले डिजिटल नेपालको उल्टो यात्रा गरेको भन्ने आरोप लागेको छ नि ?
पहिलो कुरा त संस्था खारेज भएको होइन, पुनःसंरचना गर्न खोजिएको हो । सूचना प्रविधि विभाग र सूचना प्रविधि केन्द्रलाई एक ठाउँमा ल्याएर अपग्रेड गरी ठूलो निकाय बनाउने हाम्रो उद्देश्य छ । सूचना प्रविधि केन्द्र अहिले निरीहजस्तो देखियो । त्यहाँ जुन खालको जनशक्ति छ, त्यसबाट हाम्रो डेटा सेन्टरको अपग्रेड हुन सक्दैन । अहिले केही साथीले गरिरहनुभएको छ, ठीक छ । तर हामीलाई अझै स्मार्ट म्यानपावर चाहिएको छ । यो संस्थालाई सहसचिवको नेतृत्वमा रहेको सूचना प्रविधि विभागमा एकीकृत गर्न आवश्यक देखियो । आउटसोर्सिङबाटै भए पनि विज्ञ जनशक्ति ल्याएर अपग्रेड गरिन्छ । डेटा सेन्टर खारेज त कल्पनै गर्न सकिने कुरा भएन । आर्थिक विधेयकमा त्यस्तो शब्द पर्न गएको मात्र हो । जनशक्ति, कानुन, क्षेत्राधिकारलाई हेरेर यसलाई हामी बलियो बनाउँछौं ।

धेरैजसो मुलुकले साइबर सुरक्षा कानुन नै कार्यान्वयन गरिसकेको अवस्थामा हाम्रोमा बल्ल साइबर सुरक्षा नीति ल्याइएको छ । निकै ढिलो गरी आएको नीति पनि नियन्त्रणमुखी बढी छ भन्ने आलोचना सुनिन्छ नि ?
नीतिनियम, कानुन केही नभएको अवस्थामा यो आउनु ठूलो कुरा हो । साइबर सुरक्षा नीति नियन्त्रणमुखी छैन । यसमा गल्ती, कमजोरी भए सच्याउन सकिन्छ, वर्षैपिच्छे रिभाइज गर्ने विषय नीतिमै छ । नीति बनाउन सरोकारवाला र विज्ञसँग गम्भीरतापूर्वक छलफल गरेका थियौं । थप अध्ययन गर्ने क्रममा त्यस किसिमको आशय देखिएको हुन सक्छ । साइबर सुरक्षा भनिसकेपछि समग्रतामा हेर्नुपर्छ, एउटा मात्रै बुँदा समाएर शंकाको दृष्टिले हेर्नु हुँदैन ।

यस नीतिले आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङजस्ता उदाउँदा प्रविधिबारे बोलेको छैन । द्रुत गतिमा परिवर्तन भइरहने सूचना प्रविधि क्षेत्रको नीति बनाउँदा भविष्यमुखी भएको देखिँदैन नि ?
सूचना प्रविधिको विकासमा भइरहेका र हुन सक्ने पछिल्ला गतिविधि यसमा छुटेका छन् । तर भइरहेका प्रणाली र व्यवस्थालाई नै हामीले सञ्चालन गर्न नसकिरहेको अवस्था छ भने एआईजस्ता उदाउँदा प्रविधिबारे विकसित देशमा पनि भर्खरै छलफल सुरु भएको सन्दर्भमा बिस्तारै तिनलाई समेट्ने नै छौं । अहिले त सामान्य नीति मात्रै आएको हो । यसको मातहत रहेर नियम–कानुन बनाउनै बाँकी छ । धेरै कुरा कानुनमा समेटिनेछन् । संसारसँगसँगै हिँड्न सकिरहेका छैनौं तर हाम्रो वास्तविकता पनि हेर्नुपर्‍यो ।

तपाईंहरूले सोसल मिडिया सम्बन्धी पनि कानुन बनाउने भन्दै आउनुभएको छ । मन्त्रालयले आयोजना गरेका प्राम्भिक छलफलमा सहभागी विज्ञहरूले नै यो कानुनको आवश्यकताबारे प्रश्न उठाइसकेका छन् । यसमा पनि सरकार कन्टेन्ट नियन्त्रणमै केन्द्रित हुने, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाइने हो कि भन्ने संशय छ नि ?
प्रयोगकर्तादेखि सबैले सामाजिक सञ्जाल सम्बन्धी नीति चाहिन्छ भनेका छन् । कैयौं सामाजिक सञ्जाल प्लाटफर्म हामीकहाँ दर्ता हुन थालिसके, केही दर्ता प्रक्रियाबाहिर छन् । सामाजिक सञ्जालभित्रका गतिविधि नियमन हुन सकिरहेका छैनन् । प्रहरीको साइबर ब्युरोमा गएको एक महिना अनलाइन हिंसा सम्बन्धी १७ सयभन्दा बढी उजुरी दर्ता भएका रहेछन् । दर्ता नभएका घटना त कति होलान् अझै । सामाजिक सञ्जाल दुरुपयोगका कारण आत्महत्यासम्मका घटना भइरहेका छन् । यस्ता चुनौती कम गर्न स्वनियमन हाम्रो पहिलो प्राथमिकता हो । दोस्रोमा सचेतना फैलाउने र तेस्रोमा नियमन गर्ने हो । जानाजान बदमासी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । हामीले गर्न खोजेको व्यवस्थापन हो । सामाजिक सञ्जाल चलाउने नाममा जे पनि त गर्न पाइँदैन नि !
एक थरीले स्वनियमन नै काफी छ, अर्का थरीले कानुनी दायरामै ल्याउनुपर्छ भनिरहेका छन् । अभिव्यक्ति स्वतन्त्रता खण्डित नगरीकनै नियमन गर्ने चुनौती छ । मन्त्रालयका सहसचिव नेत्र सुवेदीको नेतृत्वमा मिहिन गृहकार्य भइरहेको छ । यस सम्बन्धी कुनै ऐन नभएकाले नियमावली बनाउन टेक्ने ठाउँ पाइरहेका छैनौं । कुनै कानुन टेक्न सक्ने उपाय निस्क्यो भने नियमावली बनाउँछौं नभए निर्देशिका जारी गरेर कानुन बनाउन थालिहाल्छौं ।

नागरिकको कल डिटेल, एसएमएस लगायत गोप्य व्यक्तिगत विवरण संकलन गर्न सक्ने टेरामक्स प्रविधिबारे आलोचना र विवाद भयो, त्यसपछि त्यसको कार्यान्वयन गर्न सरकार पछि हटेको छ । यसमा नियामक निकाय दूरसञ्चार प्राधिकरण र सरकारी सेवाप्रदायकबीच नै असमझदारीजस्तो देखियो ।
म मन्त्रालयमा आउनुअघि नै टेरामक्स प्रविधि खरिद गरिसकिएको थियो । हामीकहाँ झट्टै काम थालिहाल्ने, काम गरिसकेपछि समस्या पैदा हुँदा बल्ल नियम–कानुन खोज्ने परिपाटी छ । भीओआईपी, कल बाइपास नियन्त्रणदेखि सेवाप्रदायकसम्मलाई नियमन गर्नुपर्छ भनेर प्राधिकरणले टेरामक्स ल्याएको रहेछ । २०७५/७६ मै मन्त्रिपरिषद्बाट निर्णय भएर गरिएको काम रहेछ । पछि कैयौं कुरा कानुनी रूपमा नमिल्ने रहेछन् । कस्तो देशबाट उपकरण किन्नु हुन्छ–हुँदैन भन्नेबारे पनि हाम्रा सम्झौता रहेछन् । अर्को कुरा, दुइटै सेवाप्रदायकले ग्राहकको गोपनीयताको हकलाई उल्लंघन गरेर जान सक्दैनौं भनिरहँदा सरकारले त्यसमा कुनै आँच नआउने गरी काम गर्नुपर्‍यो । बाहिर जे कुरा भइरहेको छ, प्राविधिक रूपमा त्यो सही हो कि होइन भनेर हामीले अध्ययन गर्नुपर्ने भएको छ । हाम्रा सबै ग्राहक सुरक्षित छन/छैनन् भनेर पनि अध्ययन गर्नुपर्छ । टेरामक्सले हाम्रो कुनै पनि डाटा रेकर्ड गर्दैन, व्यक्तिको गोपनीयता सुरक्षित छ भन्ने सुनिश्चित गर्नुपर्नेछ । यसमा खरिद प्रक्रियादेखि सर्वोच्च अदालतका आदेश लगायत धेरै विषय रहेछन् । ती सबै कुरामा अध्ययन गरिरहेका छौं । सुनिश्चित भएपछि मात्र प्रयोगमा ल्याइन्छ ।

एकातिर कानुन बनेको छैन भने अर्कातर्फ यो प्रविधि लागू गर्न दूरसञ्चार सेवाप्रदायकहरू अनिच्छुक देखिन्छन्, नागरिकस्तरबाट समेत विरोध भइरहेको छ । तर प्राधिकरणले यो प्रविधिका नाममा हालसम्म ३ अर्ब १२ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो त प्राधिकरणले बजेट दुरुपयोग गर्ने र त्यसलाई पुष्टि गर्न जबर्जस्ती गर्ने काम भएन र ?
लागू गर्ने कि नगर्ने भनेर निष्कर्षमा पुग्नै बाँकी छ । हाम्रा कानुन वा न्यायालयका आदेशले यसलाई कार्यान्वयन गर्न नदिने निष्कर्ष निस्कियो भने वा साँच्चै गोपनीयताको हक उल्लंघन हुने देखियो भने त राज्यको ३ अर्ब खर्च भयो भन्दैमा थप क्षति गर्ने कुरा भएन । गोपनीयताको हक उल्लंघन नहुने लगायत सबै कुरा सुनिश्चित गरेर यसलाई लागू गर्ने निष्कर्षमा पुगियो भने हिजोका निर्णयहरू ठीकै रहेछन् भनेर अघि बढ्छौं, कुरै सिद्धिन्छ ।

टेरामक्स, सोसल मिडिया सम्बन्धी कानुन, साइबर सुरक्षा नीति हेर्दा समग्रमा सरकारको नियत आम नागरिकलाई कुनै न कुनै माध्यमबाट निगरानी र नियन्त्रण गरौं भन्ने खालको देखिन्छ । आम नागरिकको जनजीविकाका मुद्दा बोकेर मन्त्री भएपछि तपाईंले पनि त्यही काम गर्न खोजेको देखिन्छ । मन्त्री भएपछि यस्तो सोच आउने हो कि हाम्रो स्थायी संयन्त्रको सोचाइलाई नै तपाईंले पनि निरन्तरता दिन खोज्नुभएको हो ?
साइबर नीतिकै विषयमा हामीले मन्त्रालयमा थुप्रै छलफल गर्‍यौं, विज्ञहरूलाई भेट्यौं, उच्चस्तरीय समिति बनायौं । मस्यौदा बनेपछि त्यसलाई वेबसाइटमा पनि हाल्यौं । सार्वजनिक सुझावको अपिल गर्‍यौं । योभन्दा लोकतान्त्रिक के हुन सक्छ ? राजनीतिक र अभिव्यक्ति स्वतन्त्रताकै निम्ति हामी लडेका थियौं । त्यसकारण हामी यसमा अत्यन्तै सचेत छौं । तर नियमन चाहिन्छ । घर चलाउन त नियमन चाहिन्छ, यसको अर्थ छोराछोरीलाई स्वतन्त्रता नदिने भन्ने होइन । मान्छेले सही काम गर्दागर्दै पनि नियमन भए विरोध गर्नुपर्छ तर समाजमा सबै राम्रैराम्रो छैन । सबैतिर स्वनियमनले पुग्ने भए त राज्यका नीतिनियम नै चाहिँदैनथे । तर त्यो सम्भव छैन । राम्रोलाई प्रवर्द्धन र खराबलाई नियमनमा ल्याउनुपर्छ । हामीले कानुन बनाउँदा असाध्यै लोकतान्त्रिक अभ्यास पालना गरेका छौं । नागरिकका गतिविधि नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रतालाई खण्डित गर्ने हाम्रो नियत र सोचाइ छँदै छैन । अनजानमै त्यस्तो हुन गएको रहेछ भने पनि सुधारका लागि सधैं तत्पर छौं ।

फाइभजी परीक्षणका लागि सरकारले २०७८ सालमै नेपाल टेलिकमलाई अनुमति दिएको थियो । यसमा एनसेललाई अनुमति नदिएर पूर्वाग्रही भएको आरोप पनि सरकारमाथि लाग्दै आएको छ । अनुमति पाएको नेपाल टेलिकमले अहिलेसम्म नाम मात्रैको परीक्षण गरेको छ । नेपालमा फाइभजीको खास परीक्षण कहिले हुन्छ ?
म जुन बेला सञ्चार मन्त्रालयको जिम्मेवारी लिन आएँ, फाइभजीको ट्रायल सुरु भइसकेको थियो । उहाँहरू परीक्षण गरी नै रहनुभएको छ । फोरजी विस्तार लगभग सक्ने चरणमा छौं । हामीकहाँ हरेक कुरा सुरुआत गर्ने, निर्क्योलमा नपुर्‍याउने चलन छ । फोरजीको सुरुआत गरिसकेपछि यसमा हामीले कति लगानी गर्‍यौं, यसबाट कति फाइदा भयो भन्ने विश्लेषण नगरीकन तत्काल फाइभजी चलाइहाल्ने भन्ने छ । फाइभजी ट्रायल गर्न कुनै समस्या छैन, यसका लागि अनुमतिको माग आए सेवाप्रदायकलाई काख–पाखा गर्ने कुरा हुँदैन । एनटीसीमा सरकारको ठूलो लगानी छ, सञ्चारसचिव नै एनटीसीको बोर्ड अध्यक्ष छन् । त्यस हिसाबले सरकारको संलग्नता एनटीसीमा बढी हुनु स्वाभाविक हो । तर सेवा प्रवाहका सन्दर्भ वा नीतिगत रूपमा फरक व्यवहार हुँदैन ।

स्मार्ट टेलिकमका सन्दर्भमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा आइसकेको कम्पनीको सम्पत्ति व्यवस्थापनको पाटो अलपत्र परेको छ । सेवा बन्द भइसक्यो । यसमा तपाईंहरूले सहजीकरणको प्रयास गर्नुभएको छ ?
नियम, प्रकियाका कारण स्मार्ट टेलिकम खारेजीको प्रक्रियामा छ । उसको समग्र सम्पत्ति व्यवस्थापनको प्रक्रियामा छ । सम्पत्ति व्यवस्थापन विनियमावली संशोधनको काम पनि हुँदै छ । त्यसलाई हामीले मन्त्रिपरिषद्मा लगेका छौं । हामीलाई त टेलिकम क्षेत्रमा तेस्रो सेवाप्रदायक शक्ति एकदमै आवश्यक छ भन्ने हिजो पनि लागेको थियो, अहिले पनि लागेको छ । तर राज्यको नियम–कानुन अनुसार चल्नुपर्छ । नयाँ टेलिकम स्थापना गर्न के गर्ने भन्ने लगायत थुप्रै विषयमा काम गर्न बाँकी छ । विद्यमान कानुनी व्यवस्था पूरा गरेर आउनेलाई हामी स्वागत गर्छौं, कसैप्रति आग्रह/पूर्वाग्रह छैन ।

हालै सार्वजनिक एक अध्ययनले सरकारको बिनाकुनै भूमिका नेपालको आईटी क्षेत्रले वार्षिक ६७ अर्ब विदेशी मुद्रा आर्जन गरेको र रोजगारी सृजना गरिरहेको देखाएको छ । यसलाई व्यवस्थित, नियमित, प्रवर्द्धन र प्रोत्साहन गर्ने सन्दर्भमा तपाईंहरूले केही योजना बनाउनुभएको छ ?
यसलाई नीतिले नै मार्गनिर्देशन गर्नुपर्छ । अझै धेरै आर्जन हुने गरी कार्यक्रम चलाउनुपर्छ । यी सबै कहाँ कसरी भइरहेका छन् भन्नेबारे थप थाहा पाउन पनि आईटी प्रदर्शनी गर्ने सोचेका हौं । हामीले उनीहरूले कमाएको मात्रै देख्यौं, यस क्षेत्रभित्रका दुःख देखेका छैनौं । हालै सार्वजनिक भएको रिपोर्टकै आधारमा केही पहल चाहिन्छ भन्ने बोध गरेका छौं । कसरी गर्ने, के गर्ने भन्नेबारे निष्कर्षमा पुगेका छैनौं ।

मन्त्रिपरिषद् र सरकारले गर्ने निर्णय तथा क्रियाकलापका विषयमा आधिकारिक जानकारी दिने निकाय तपाईंले नेतृत्व गरिरहेको मन्त्रालय हो । तर मन्त्रिपरिषद्ले गरेका सबै निर्णय सार्वजनिक गर्नुहुन्न । किन होला ?
सबै निर्णय उही दिन सार्वजनिक हुँदैनन् । कतिपय निर्णय परिपक्व भइसकेका हुँदैनन् । परिपक्व नभएका निर्णय बाहिर भन्दा कहिलेकाहीँ बिग्रँदो रहेछ । सामान्यतया निर्णय सार्वजनिक भएनन् भन्ने लाग्दैन ।

कतिपय निर्णय मन्त्रिपरिषद्मा पेस नै हुँदैनन् । पेस भए पनि पछि मुख्य सचिवले थपघट गरेर निर्णय सुनाइन्छ भन्ने आरोप मन्त्रीहरूकै छ नि ?
इमर्जेन्सी सन्दर्भमा कहिलेकाहीँ मन्त्रिपरिषद्मा पेस नगरी निर्णय हुने चलन पहिले पनि थियो, आज पनि छ । तर त्यसमा पनि मन्त्रीहरूसँग समन्वय सधैं हुन्छ । मन्त्रिपरिषद् सदस्यहरूबेगर, बाहिरबाट निर्णय हुँदैन । प्रधानमन्त्रीबिना मुख्य सचिव आफैंले गर्न सम्भवै हुँदैन । मुख्य सचिवले त प्रमाणीकरण मात्रै गर्ने हो ।

Page 8
परदेश

वातावरणीय मुद्दामा युरोपेली देशविरुद्ध अदालत पुगे बालबालिका

- ददि सापकोटा

(पेरिस)
वातावरणीय मुद्दा उठाउँदै पोर्चुगलका बालबालिका ३२ युरोपेली देशविरुद्ध युरोपेली अदालत पुगेका छन् । पोर्चुगलको जंगलमा लागेको डढेलो र बिग्रँदो पर्यावरणीय कारण देखाउँदै उनीहरूले मानवअधिकारको युरोपेली अदालत (ईसीएचआर) मा मुद्दा दायर गरेका हुन् । मुद्दाको सुनुवाइ सेप्टेम्बर २७ मा हुने भएको छ ।
जलवायु परिवर्तनको असर रोकथाममा सरकार निष्क्रिय रहेको उल्लेख गर्दै ६ जनाले मुद्दा दायर गरेका हुन् । युरोपेली युनियनका देशहरूले जलवायु परिवर्तन रोकथाममा यथेष्ट काम नगरेको, बिग्रँदो वातावरणीय अवस्था र प्रदूषण नियन्त्रणमा ध्यान नदिएको, जलवायु परिवर्तनले बाढी, डढेलो, खडेरी बढाएर दिन प्रतिदिन युरोपेली नागरिकको जनधनलाई जोखिममा पार्दै लग्दा पनि त्यसलाई रोक्न उचित कार्यक्रम नल्याएकोलगायत आरोप उनीहरूले लगाएका छन् । बेलायतमा रहेको ग्लोबल लिगल एक्सन नेटवर्क (ग्लान) को समर्थनमा पोर्चुगलका बालबालिकाले मुद्दा दायर गरेका हुन् ।
मौसममा आएको परिवर्तनका कारण केही महिनादेखि तापक्रम उच्च हुँदा युरोपका केही देशका जंगलमा आगो लागेर हजारौं घरबारविहीन भएका छन् । पानीको अभाव र गर्मीसँग सम्बन्धित रोगका कारण अस्पताल भर्ना हुनेहरूको संख्या वृद्धि भएको छ । खानेपानीको अभाव र खेतीपाती, पशुपालनमा व्यापक क्षति पुगेको छ । जलवायु परिवर्तनले उनीहरूको जीवन, गोपनीयता, मानसिक स्वास्थ्य र अन्य मामिलाहरूको अधिकारलाई खतरामा पारेको तर्क आवेदकहरूले गरेका छन् । यो कानुनी लडाइँले अरूलाई पनि विश्वव्यापी रूपमा वातावरणीय न्यायको माग गर्न प्रेरित गर्ने उनीहरूको विश्वास छ । तर यी मुद्दाहरूको समाधान वर्तमान नीतिहरूले पूरा गर्न सफल हुनेमा विशेषज्ञहरूले शंका गरेका छन् ।
जलवायु संकटका विशेषज्ञ क्लिनिकल मनोवैज्ञानिक एलिजाबेथ मार्क्सले एक विश्वव्यापी सर्वेक्षणले जलवायु परिवर्तनका कारण आधाभन्दा बढी युवामा मानसिक समस्या देखिएको युरोन्युजलाई बताएकी छन् । त्यसलाई सम्बोधन गर्न सरकारहरू चुकेको उनको भनाइ छ । ‘बच्चाहरूलाई तिनीहरूको नियन्त्रण नभएको कुरामा चिन्ता गर्नुपर्ने बनाएको छ, नसोचेको कुराले पीडित बनाएको छ । त्यसको जिम्मेवारी सरकारहरूले लिनुपर्छ,’ मार्क्सले भनेकी छन्, ‘जुन कुरामाथि बालबालिकाको नियन्त्रण, पहुँच, अधिकार र जिम्मेवारी नै छैन, त्यसको चिन्ताले किन बालबालिका पीडित हुनुपर्ने ?’
आवेदकका वकिलहरूमध्ये एक ग्लानका गेरी लिस्टन अदालतबाट अहिलेसम्मका सबै संकेतहरू अत्यन्त सकारात्मक भएको र मुद्दाले सफलता पाउने बताउँछन् । तर उच्च
संसाधन भएका ३० भन्दा बढी देशहरूको कानुनी टोलीहरू बनाएर काम गर्नु सजिलो नभएको भनाइ केही विशेषज्ञहरूको छ ।

परदेश

जी–२० को तयारीमा भारत

सेप्टेम्बरमा हुने शिखर सम्मेलनमा वातावरण, व्यापार र अर्थतन्त्र मुख्य एजेन्डा
- राजेश मिश्र

(नयाँदिल्ली)
जी–२० देशहरूको शिखर आगामी सम्मेलन सेप्टेम्बर ९ र १० तारिखमा भारतको राजधानी नयाँदिल्लीमा हुँदै छ । भारतले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सम्मेलनमा उक्त संगठनमा आबद्ध देशका प्रमुख र पर्यवेक्षक राष्ट्रहरूका प्रमुख तथा प्रतिनिधिहरू दिल्ली आउने बताइएको छ ।
यस पटकको सम्मेलनमा वातावरण, व्यापार र अर्थतन्त्र मुख्य एजेन्डा हुने भएका छन् । हरित विकास, जलवायु वित्त, पर्यावरण तथा जलवायु परिवर्तनसम्बन्धी युरोपेली संघको कार्यक्रम, छिटो र समावेशी विकास, स्थायी विकासका लक्ष्यहरूमा प्रगति, प्राविधिक परिवर्तन, बहुपक्षीय संस्था तथा महिलाको नेतृत्वमा विकासलगायत विषयमा बैठकमा छलफल हुने भएको छ ।
सम्मेलनका लागि प्रगति मैदानमा भारत–मण्डप बनाइएको छ । गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको उद्घाटन गरेका थिए । जी–२० को सम्मेलनलाई लक्षित गरेर २ हजार ७ सय करोडको लागतमा उक्त मण्डप अर्थात् विभिन्न अत्याधुनिक सुविधाहरू सहितको सभाहलको निर्माण भएको हो । त्यही सभाहलमा जी–२० का नेताहरूको ‘शेर्पा’ बैठक हुनेछ । यो स्तरको सम्मेलन भारतले पहिलो पटक गर्न लागेको हो । विश्वकै सबै शक्तिशाली देशका प्रमुखहरूको जमघट दिल्लीमा हुने भएपछि त्यसको भारत सरकारले विशेष तयारी गरेको हो ।
सडक क्षेत्रको साजसज्जा, पार्कहरूको व्यवस्थापन र पर्यटकीय स्थलहरूको शृंगारमा यतिबेला सरकारी संयन्त्र जुटेको देखिन्छ । जी–२० को सदस्य राष्ट्रहरूको झन्डा बाटोहरूमा राख्न थालिएको छ । त्यस्तै, सुरक्षा व्यवस्थामा कुनै पनि चुक हुन नदिने गरी तयारी गरिँदै छ । सरकारले सम्मेलनलाई लक्षित गरेर सेप्टेम्बर ८, ९ र १० तारिख दिल्लीलाई आममानिसका लागि ठप्प बनाउँदै छ । सरकारी कार्यालय, विश्वविद्यालय, कलेज र विद्यालयहरूमा छुट्टीको घोषणा गरिएको छ । त्यस्तै बजारहरू पनि नियन्त्रित तरिकाले मात्रै खुल्नेछन् । उक्त अवधिमा बाहिरी प्रदेशबाट दिल्लीमा यातायातको प्रवेशमा रोक लगाइएको छ । त्यस्तै निर्धारित क्षेत्रहरूमा पासबाहेकका सवारीसाधनहरूको प्रवेशमा प्रतिबन्ध रहनेछ । ७ सेप्टेम्बर राति १२ बजेदेखि १० तारिखको राति १२ बजेसम्मलाई विशेष कडाइको सूचना सार्वजनिक गरिएको छ । घरबाट निस्किने हरेक व्यक्तिले आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्नुपर्ने भनिएको छ । रेलवे स्टेसन र विमानस्थल जानलाई पनि अत्यावश्यक भए मात्र त्यो समयमा यात्रा गर्न सुझाव दिइएको छ । ती स्थानहरूमा जानलाई विभिन्न रुटहरूको व्यवस्थापन सुरक्षा निकायले गरेको छ ।
भारतले पहिलो पटक जी–२० को अध्यक्षता पाएर यो स्तरको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको हो । इन्डोनेसियाले गतवर्ष १ डिसेम्बर २०२२ मा भारतलाई अध्यक्षता हस्तान्तरण गरेको हो । त्यसयता भारतमा जी–२० सँग सम्बन्धित सयौं बैठक विभिन्न सहरहरूमा भएका छन् । भारतले जी–२० मा ‘वसुधैव कुटुम्बकम्’ अर्थात् ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ को नारा दिएको छ । प्रधानमन्त्री मोदीले देशभित्र र बाहिरको हरेक मञ्चमा उक्त नारालाई जोड दिएका छन् । जी–२० मा सहभागी देशहरूसँग विश्वको दुई तिहाइ जनसंख्या र विश्व व्यापारमा ७५ प्रतिशतको हिस्सेदारी छ । जी–२० मा अमेरिका, बेलायत, रुस, चीन, भारत, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, अर्जेटिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, युरोपियन युनियन, इन्डोनेसिया, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की सदस्य छन् ।
यस पटकको सम्मेलनमा विशेष आमन्त्रितका रूपमा बंगलादेश, इजिप्ट, मरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र यूएईका राष्ट्र–सरकार प्रमुखहरूलाई बोलाइएको छ । त्यसबाहेक संयुक्त राष्ट्रसंघलगायतका विभिन्न अन्तर्राष्ट्रिय फोरम र मञ्चका पाहुनाहरू दिल्लीमा हुनेछन् । त्यस्तै, ३ हजार बढी मिडियाकर्मी पनि जी–२० का रिपोर्टिङका लागि दिल्लीमा रहने जनाइएको छ । देश र विदेशका गरेर ३ हजार मिडियाकर्मीले जी–२० को रिपोर्टिङका लागि पास माग गरेका छन् । ताजमहल, सांग्रिला, ताज प्यालेस, ली मेरिडियन, ओबेराय, लीला प्यालेस जस्ता होटललाई विशेष पाहुनाहरू राख्न सरकारले बुक गरिसकेको छ ।

Page 9
अर्थ वाणिज्य

सेयर कर्जा घटेको घट्यै

०७८ भदौमा राष्ट्र बैंकले ४ र १२ करोडको नीति ल्याएपछि घट्न थालेको सेयर बजार अझै बढ्न सकेन, गत वर्ष मात्र सवा ४ अर्बले घट्यो
- कान्तिपुर संवाददाता

(काठमाडौं)
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर (मार्जिन प्रकृतिको) कर्जा करिब सवा ४ अर्ब रुपैयाँले घटेको छ । यो ५.२ प्रतिशतको कमी हो । ०७८ भदौमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट्न थालेको सेयर कर्जा त्यसपछिका प्रायः सबै महिनामा घटिरहेको तथ्यांकहरूले देखाएका छन् । आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीतिमार्फत भएको नीतिगत कडाइले सेयर कर्जासँगै नेप्से परिसूचक पनि धेरैले घटेको र त्यसयता बढ्न नसकेको जानकार बताउँछन् ।
गत असारसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत असारसम्म यस क्षेत्रमा
प्रवाह भएको कर्जा करिब ४ अर्ब २० करोड रुपैयाँले कम हो । ०७९ असारमा ८० अर्ब ५० करोड र ०७८ असारमा १ खर्ब ६ अर्ब रुपैयाँ सेयर कर्जा लगानीमा थियो । उल्लिखित तथ्यांकबाट पनि ०७८ असारयता सेयर कर्जा घट्दै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर घरजग्गालगायत कर्जामा कडाइ गरेको थियो ।
राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुने र पछिल्ला वर्षमा कसिला नीति आएकाले सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘०७८ भदौमा राष्ट्र बैंकले ४ र १२ करोडको नीति ल्यायो, यो व्यवस्थापछि घट्न थालेको सेयर बजार अझै बढ्न सकेको छैन,’ उनले भने, ‘नीतिगत खुकुलो नभएसम्म सेयर बजारमा बढोत्तरी आउन कठिन छ ।’
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले केही सेयर कर्जामा खुकुलो बनाउन खोजे पनि अर्थतन्त्रमा आएको शिथिलताका कारण लगानीकर्ताले कर्जा लिने आँट गर्न नसकेको उनको भनाइ छ । ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि तरलता अवस्था सहज भएकाले बैंक तथा वित्तीय संस्थाले साना ठूला सेयर कर्जामा विभिन्न अफरहरू ल्याइरहेका छन्,’ उनले भने, ‘तर, शिथिल अर्थतन्त्र, अपेक्षाअनुरूप बढ्न नसकेको सेयर बजारलगायत कारण लगानीकर्ता कर्जा लिएर सेयरमा लगानी गर्ने अवस्थामा छैनन् ।’
अर्थतन्त्रका सबै क्षेत्रमा निराशा रहेकाले सरकार र नियामक निकायहरूले लगानीकर्ताहरूमा आशा जगाउन नीतिगत सहजता गर्नुपर्ने उनको सुझाव छ । ‘अहिले अर्थतन्त्रको समस्या घरघरसम्म (व्यक्तिगत तहमा) पुगिसकेकाले हरेक नागरिकमा उत्साह बढाउनेतर्फ सरकारको ध्यान जानुपर्छ,’ उनले थपे ।
सेयर बजार बढ्दा राजस्व वृद्धिसँगै समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने अर्का एक लगानीकर्ताले बताए । ‘अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सेयर बजार मात्र घटेको छैन, बजारबाट संकलन हुने राजस्वमा समेत उल्लेख्य कमी आएको छ,’ ती अधिकारीले भने, ‘बजार घट्दा कसैलाई फाइदा भएको छैन । बजार बढेको भए राजस्व पनि बढ्थ्यो, लगानीकर्ताको पनि लाभ बढ्थ्यो ।’
गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था खारेज गरेको थियो । उक्त व्यवस्था खारेज गरेर मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम रहेकाले यो कर्जा बढ्न नसकेको लगानीकर्ताको गुनासो छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार घटाएर एक सय प्रतिशत बनाएको छ । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिमभार मात्र एक सय प्रतिशत र त्योभन्दा बढी सबै कर्जाको एक सय ५० प्रतिशत थियो ।
यो व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने दाबी राष्ट्र बैंकले गरे पनि मौद्रिक नीति जारी भएयताका प्रायः सबै दिन नेप्से परिसूचक घटिरहेको छ । यो व्यवस्था सेयर बजारका लागि सकारात्मक भए पनि १२ करोडको सीमा नहटेकाले ठूला लगानीकर्ता आकर्षित हुन नसकेको जानकार बताउँछन् ।
‘सेयर बजार निरन्तरजसो घटेको छ । यसअघि ३२ सयसम्म पुगेको बजार घट्न थालेपछि केही ठूला लगानीकर्ताले सेयर बेचेर लगानी अन्य क्षेत्रमा स्थानान्तरण गरेका थिए । त्यो लगानी बजारमा फर्किन सकेको छैन,’ अर्का एक सेयर ब्रोकरले भने, ‘तरलता अभाव भन्दै बैंकहरूले पनि कर्जा प्रवाह रोके, राष्ट्र बैंकले पनि नीतिगत कडाइ गर्न थाल्यो । त्यसको असर सेयर कर्जामा देखिएको हो ।’ अहिले निरन्तर सेयर बजार घट्नुको एउटा कारण सेयर कर्जा पनि भएको उनको दाबी छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत असारसम्म सेयर कर्जा ५.२ प्रतिशतले घटेको छ । यसअनुसार एक करोड रुपैयाँभन्दा बढी रकमका सेयर कर्जा ४ प्रतिशतले घटेको छ । २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा १६ प्रतिशतले र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १४ प्रतिशत घटेको छ । तर सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने साढे ११ प्रतिशतले बढेको बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । उल्लिखित रकमको कर्जा राष्ट्र बैंकको ४ र १२ को सीमामा नपरेकाले बढेको जानकारहरूको भनाइ छ ।

अर्थ वाणिज्य

चार विद्युत् आयोजनामा एचआईडीसीएलको १३ अर्ब ऋण स्वीकृत

काठमाडौं (कास)– हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सार्वजनिक तथा निजी क्षेत्रले निर्माण गर्ने चार आयोजनाको ऋण स्वीकृत गरेको छ । एचआईडीसीएले २८५ मेगावाट क्षमताको अपर तमोर, १०६ मेगावाटको जगदुल्ला, ५६ मेगावाटको सानिमा जुम खोला र ४२ मेगावाटको माथिल्लो मोदी–ए का लागि कुल १३ अर्ब ऋण स्वीकृत गरेको हो ।
अपर तमोर र जगदुल्ला अर्धजलाशय (पी–आरओआर) तथा जुम खोला र मोदी–ए नदी प्रवाही (आरओआर) आयोजना हुन् । एचआईडीसीएलले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै निजी र सार्वजनिक क्षेत्रले निर्माण अगाडि बढाएका आयोजनामा ऋण स्वीकृत गरेको जानकारी दिएको हो । तमोर सानिमा इनर्जीले निर्माण गर्ने २८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनाका लागि ४ अर्ब र विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्ने १०६ मेगावाटको जगदुल्लाका लागि ४ अर्ब ऋण स्वीकृत गरेको छ । सानिमा जुम हाइड्रोपावर कम्पनीले निर्माण गर्ने ५६ मेगावाटको सानिमा जुम जलविद्युत् आयोजनाका लागि २ अर्ब र मोदी जलविद्युत् कम्पनीले निर्माण गर्ने ४२ मेगावाटको माथिल्लो मोदी–ए जलविद्युत् आयोजनाका लागि ३ अर्ब ऋण स्वीकृत गरिएको एचआईडीसीएलका कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए ।
एचआईडीसीएलले अहिलेसम्म ऋण र स्वपुँजी गरी २७ अर्ब ३९ करोड लगानी स्वीकृत गरिसकेको बताएको छ । नेपाल राष्ट्र बैंकको पूर्ण नियमनभित्र नगएसम्म एचआईडीसीएलको लगानीको दायरा फराकिलो बनाउन नसकिने गौतमले बताए ।
एचआईडीसीएलले अहिलेसम्म २३६९.४० मेगावाट क्षमताका ३१ वटा आयोजनामा लगानी स्वीकृत गरेको छ । १४६७ मेगावाटका १९ आयोजनामा २१ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । त्यस्तै ९०२.४० मेगावाटका १२ वटा आयोजनामा ६ अर्ब १८ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको गौतमको भनाइ छ ।
एचआईडीसीएल जुन उद्देश्यले स्थापना गरिएको थियो, सोहीअनुसार उपलब्धि हासिल हुँदै गएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जनाए । एचआईडीसीएलसँगको सहकार्यमा निजी क्षेत्रले स्वदेशी पुँजीमै २८५ मेगावाटसम्मका ठूला आयोजना निर्माणमा समेत हिम्मत देखाएको देव बताउँछन् । जलविद्युत्को विकासका लागि मन्त्रालयले विभिन्न कार्ययोजना बनाइरहेको उनको भनाइ छ । अहिले मन्त्रालयले ग्रिन हाइड्रोजनसम्बन्धी नीति बनाइरहेको छ ।
सानिमा इनर्जी प्रालिले अगाडि बढाएको अपर तमोर स्वदेशी निजी क्षेत्रले स्वदेशी पुँजी जुटाएर निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना रहेको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । स्वदेशी पुँजी र जनशक्तिबाट निर्माण हुने यस आयोजनाले राष्ट्रिय अर्थतन्त्रलाई समेत चलायमान गराउने उनको दाबी छ । अपर तमोर निजी क्षेत्रले निर्माण गरेको हालसम्मको ठूलो आयोजना हो, यसको अनुमानित लागत ५५ अर्ब १५ करोड रहेको ढुंगानाले जनाए । कम्पनीले वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुर्‍याएको उनको भनाइ छ । असोजसम्ममा वित्तीय व्यवस्थापन सम्झौता गरी निर्माण सुरु गर्ने योजना रहेको र कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी उनले जनाए ।
डोल्पामा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापनको काम अन्तिम तयारीमा रहेको जगदुल्ला जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले बताए । ‘आयोजनाको सम्पूर्ण अध्ययन सकिएको छ । अब फाइनान्सियल क्लोजर गर्ने अन्तिम तयारीमा छौं,’ उनले भने, ‘नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको तयारी छ ।’
आयोजना विकट स्थानमा रहेका कारण यसअघि निकै समस्या रहेको र १६ देखि १८ घण्टा हिँड्नुपर्ने अवस्थामा पहुँचमार्ग पुग्न लागेको सापकोटाको भनाइ छ । आयोजना बनेपछि अहिलेको कर्णालीको विद्युतीकरण र उक्त क्षेत्रको जनजीवनसमेत सहज हुने उनले जनाए ।
सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्ने ५६ मेगावाटको जुम खोला चाँडै निर्माणको चरणमा जाने प्रवर्द्धक जुगल भुर्तेलले बताए । जलविद्युत् निर्माणमा विस्फोटक पदार्थ, लगानीलगायत समस्या रहेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ । मोदी जलविद्युत् कम्पनीले निर्माण गर्ने ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना पनि लगानी जुटाउने अन्तिम तयारीमा रहेको जनाएको छ । आयोजना निर्माण गर्न एनएमबी बैंकको अगुवाइमा बाँकी ऋण लगानीको जोहो गर्ने तय भएको छ ।

अर्थ वाणिज्य

सिर्सिया सुक्खा बन्दरगाहमा ३ वर्षदेखि थन्किएको मल कुहियो

न मन्त्रालयले लग्यो, न भन्सारले व्यवस्थापन गर्न सक्यो
लामो समयदेखि ठूलो परिमाणको मल भण्डारण गरी राखिएका कारण वरपरका रूखबिरुवा मरे
- शंकर आचार्य

(पर्सा)
सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ३ वर्षदेखि थन्किएको डीएपी मल कुहिएको छ । समयमै मलको व्यवस्थापन हुन नसक्दा त्यसले वरपरका बोटबिरुवा नै मारेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउँदा नै भिजेको मल आएपछि बन्दरगाहस्थित भन्सार कार्यालयले जाँचपास गरेको थिएन ।
तीन वर्षअघि बन्दरगाह यार्डको पूर्वी–दक्षिणी भेगमा रेलवे लिकको पूर्वतर्फ १ हजार २ सय २५ टन डीएपी मल पालले ढाकेर अव्यवस्थित रूपले भण्डारण गरिएको थियो । उक्त मल अहिले पूर्ण रूपमा कुहिएर नष्ट भइसकेको छ । लामो समयदेखि ठूलो परिमाणको मल भण्डारण गरी राखिएका कारण वरपरका रूखबिरुवा मरेका छन् । बन्दरगाह निर्माणको समयमा दुई दशकअघि वृक्षरोपण गरेर हुर्काइएका रूखमुनि बिग्रिएको मल थुपार्दा मरेका हुन् ।
गत वर्षको पुस २ मा मन्त्रीस्तरीय निर्णयबाट उक्त मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तय भएको थियो । अर्थ मन्त्रालयले पुस ११ मा उक्त निर्णयबारे कृषिलाई औपचारिक रूपमा जानकारीसमेत गराएको थियो । त्यसपछि साल्ट ट्रेडिङ र कृषि मन्त्रालयका अधिकारीको संयुक्त टोलीले उक्त मलको निरीक्षण गरेर फर्के पनि मल हटाउने सम्बन्धमा केही कामै गरेनन् ।
बन्दरगाह भन्सार कार्यालयले भने मल भिजेर उपयोगविहीन अवस्थामै आएको भन्दै जफत गरेर नष्ट गर्ने निर्णय गरिसकेको थियो । अर्थ मन्त्रालयले उक्त मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिने निर्णय गरेकाले आफूले त्यसमा हात हाल्न सक्ने अवस्था थिएन । ‘एकातिर कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई मल दिने निर्णय भयो,’ बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले भने, ‘अर्कोतिर मन्त्रालयले मल लैजानेबारे चासो देखाएन ।’ आफूहरूले व्यवस्थापन गरेपछि कृषिले मागे समस्या आउन सक्ने अवस्था रहेकाले हात नहालेको उनले जनाए । साल्टले त्यति बेला कुल २५ हजार टन डीएपी मल आयात गरेकामा त्यसमध्ये पछिल्लो लटको २ वटा रेलवे र्‍याकमा आएको २ हजार ५ सय टनमध्ये आधा मल भिजेर गुणस्तरहीन भएको थियो । स्विस सिंगापुर ओभरसिज सप्लायर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डीएपी मल सुरुमा भारतको कोलकाता बन्दरगाह आएको थियो ।
समुद्रीमार्गमै रहँदा २०२० को अगस्ट दोस्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुद्री आँधीको चपेटमा उक्त मल बोकेको पानी जहाज परेको थियो । जहाजमै रहँदा उक्त मलमा पानी पसेर भिजेको थियो । भिजेको मल सप्लायरले कोलकाताबाट वीरगन्जसम्म ल्याएपछि त्यतिबेलै सुक्खा बन्दरगाह भन्सार कार्यालयले बिग्रेको भन्दै जाँचपास गर्न मानेको थिएन ।

Page 10
अर्थ वाणिज्य

पालिकाले मागे सूचना प्रविधि प्रणालीमा थप पहुँच

संघीय सरकारका निकायले बनाएका प्रणालीमा पूर्ण एक्सेस नदिादा सेवा प्रवाह चुस्त हुन नसकेको गुनासो
- कान्तिपुर संवाददाता

(काठमाडौं)
स्थानीय सरकारसँग सम्बन्धित सरोकारवालाले सरकारी निकायहरूबीचको सूचना प्रविधिसम्बन्धी अन्तरआबद्धता बढाउँदै सफ्टवेयरलगायत सेवा प्रदायक प्लेटफर्महरूमा स्थानीय निकायलाई पनि पहुँच दिनुपर्ने बताएका छन् । संघीय सरकारका निकायहरूले बनाएका प्रणालीमा पूर्ण एक्सेस नदिँदा सेवा प्रवाह चुस्त हुन नसकेको उनीहरूको गुनासो छ ।
‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सफ्टवेयरमा मौसमजन्य विपद्बबारे हामी विवरण इन्ट्री गर्छौं । तर त्यसको डाटा व्यवस्थापन, डाटा ट्रान्सफर गर्ने जस्ता काम संघीय सरकारले गर्छ,’ रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भने, ‘उहाँहरूले हाम्रो फोन उठाइदिनुहुन्न । यति सानो कुराले गर्दा हामीलाई अप्ठ्यारो भएको छ । स्थानीय तहलाई पनि सफ्टवेयरहरूमा पूर्ण रूपमा एक्सेस दिनुपर्छ ।’ आफूहरू डाटा इन्ट्रीमै सीमित हुँदा सफ्टवेयरमार्फत हुने कतिपय सेवा प्रवाहका काम प्रभावकारी हुन नसकेको उनले बताए ।
विद्युतीय सुशासन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक छलफल कार्यक्रममा भौतिक र भर्चुअल रूपमा सहभागी स्थानीय सरकारका प्रतिनिधिले विद्युतीय सुशासनका विद्यमान चुनौती र यसलाई समाधान गर्ने आआफ्ना अनुभव साझा गरेका थिए । आयोगले विद्युतीय सुशासनसम्बन्धी ऐनको खाका (ब्लुप्रिन्ट) निर्माणका लागि सरोकारवालाका सुझाव संकलन प्रारम्भ गरेको छ । ब्लुप्रिन्ट बनाउने विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत घोषणा गरिएको थियो ।
कार्यक्रममा नगरपालिका संघका अध्यक्षसमेत रहेका धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले संघ, प्रदेश र स्थानीय तहका लागि एकीकृत सेवा प्रवाह प्रणाली बनाउनुपर्ने सुझाए । तर, यसको ‘रिमोट’ कोसँग हुन्छ भन्नेमा उनको चासो थियो । ती प्रणाली स्थानीय सरकारको पूर्ण पहुँचमा हुनुपर्ने र एक क्लिकमा ७५३ वटै तहमा सूचना प्रवाह गर्न किसिमका हुनुपर्ने उनले बताए । नागरिकलाई छिटो छरितो ढंगले सेवा दिन प्रविधिको सहयोग लिनुपर्ने राष्ट्रिय गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको धारणा छ ।
संघीय सरकारका सूचना प्रणाली बिग्रिँदा स्थानीय तहले समेत सेवा दिन नसकिरहेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको अनुभव छ । प्रविधि लागू हुन नसकेकाले आफूहरू अझै पनि कागज बोकेर काठमाडौं धाउन बाध्य भएको उनको भनाइ छ । ‘अर्थ मन्त्रालयको सूत्र एप्लिकेसन नचल्दा यसपालि आर्थिक वर्षको अन्त्यमा गरिसक्नुपर्ने क्लोजिङका काम अवरुद्ध भए,’ उनले भनिन्, ‘राष्ट्रिय परिचयपत्रका लागि मैले दुई–दुई चोटि फोटो खिचिसकेँ, दुई वर्ष भयो, परिचयपत्र पाएको छैन ।’ सूचना प्रविधिका कार्यक्रम निश्चित समयभित्र लागू गर्न कानुनी रूपमै व्यवस्था हुनुपर्ने उनको धारणा छ ।
कतिपय अवस्थामा अनलाइनबाट सेवा लिनुभन्दा कार्यालयबाटै छिटो सेवा प्राप्त हुनु विडम्बना भएको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले बताइन् । सूचना प्रविधि क्षेत्रमा स्थानीय तहले पनि आफ्नै किसिमका पहल गरिरहेको उनको भनाइ छ । ‘हरेक पालिकाले आईसीटी क्षेत्रका लागि बजेट विनियोजन गरेका छन्,’ उनले भनिन्, ‘विद्युतीय सुशासन कायम गर्न सरकारहरूमा तत्परता र तयारी आवश्यक छ ।’
एक वर्षअघि गठित विद्युतीय सुशासन आयोगका पहल र तयारीबारे सहसचिव रमेश शर्मा पौडेलले जानकारी दिए । विद्युतीय सुशासन स्थापना गर्न नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले भने विद्युतीय सुशासनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक भएकामा जोड दिएका थिए ।

अर्थ वाणिज्य

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं (कास)– आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँका लागि विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सोही क्रममा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान गरेको छ । ऋणपत्रका लागि आइतबार (भदौ १०) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । भदौ ११ मा राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र ०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तिरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । यसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । सरकारको लक्ष्यअनुसार राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ । गत आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकोमा त्यसको ९९.९९ प्रतिशत प्रगति हासिल गरेको थियो ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्बको विकास ऋणपत्र, ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । चालु वर्षमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको २२.९, विकास ऋणपत्रको ७४.६, नागरिक बचतपत्रको २.१ र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.४ प्रतिशत रहेको तालिकामा उल्लेख छ ।

अर्थ वाणिज्य

जीईएफको उपाध्यक्षमा चुनिए अर्थमन्त्री महत

काठमाडौं (कास)– ग्लोबल इन्भायरोनमेन्ट फेसिलिटी (जीईएफ) को सातौं विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्ड्सको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनमा देशको प्रतिनिधित्व गर्दै सहभागी मन्त्री महतले नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरिरहेको बताए । दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याका लागि पुग्ने पानीको स्रोत नेपालमा रहेको उनको भनाइ छ ।
नेपालले जैविक विविधताको संरक्षणमा इमानदार प्रयत्न र दुर्लभ तथा संकटापन्न जंगली जनावर र प्रजातिको संरक्षण गरेकाले बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको मन्त्री महतले बताए । जलवायु परिवर्तनले नेपाल विश्वको १०औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनमा बाढीपहिरो अतिवृष्टि, सुक्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको मन्त्री महतको भनाइ छ ।

अर्थ वाणिज्य

कोकाकोलाले गर्‍यो सक्षम २.० मेन्टरसिप प्रोग्रामका विजेता घोषणा

अर्थ संक्षेप

काठमाडौं (कास)– एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० यङ वुमेन आन्टरप्रेनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा काठमाडौं, पोखरा र चितवनका ८० जनाभन्दा धेरै महिला उद्यमीले आवेदन दिएका थिए । उनीहरूमध्ये इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाका आधारमा ८ जना फाइनलिस्ट छानिएको थियो । छनोट हुनेमा केही क्राफ्ट्सकी वृन्दा दिवान, डुलुवा आउटडोर्सकी मेनुका गुरुङ, साउथ एन्ड साउथ–इस्ट प्रोजेक्टकी प्रकृति बस्याल, लर्नर्स रुमकी राशि महर्जन, सर्चड्की रोजिना बराल, बायो–इन्जाइम्सकी सरला महर्जन, ग्रिनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन छन् । यीमध्ये निर्णायकले मेनुका गुरुङ, राशि महर्जन र सरला महर्जनलाई विजेता घोषित गरे । प्रत्येकले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेता उद्यमीहरूलाई आफ्ना इनिसिएटिभ अघि बढाउन मद्दत पुगोस् भनेर आर्थिक सहयोग प्रदान गरिएको आयोजकले जनाएको छ ।

अर्थ वाणिज्य

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डिजिटल बिमा सेवा

अर्थ संक्षेप

काठमाडौं (कास)– सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बिमालेख जारी गर्न तथा दाबी फर्छ्योट गर्न स्पिल–डीजी प्रणाली कार्यान्वयनमा ल्याएको छ । सरल र सहज बिमा सेवा प्रदान गर्ने उद्देश्यसाथ नेपाली बिमा क्षेत्रमा पहिलो पटक यस्तो पहल भएको कम्पनीको दाबी छ । बिमितहरूले स्पिल–डीजी नामक प्रणाली प्रयोग गरी अनलाइनबाटै बिमालेख खरिद गर्न सक्ने र निश्चित ‍रकमसम्मको बिमा दाबी फर्छ्योट गरी भुक्तानीसमेत प्राप्त गर्न सक्ने विज्ञप्तिमा भनिएको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले यस प्रणालीको उद्घाटन गरे ।

अर्थ वाणिज्य

सुरु भयो तिलगंगा सिटी आई सेन्टर

अर्थ संक्षेप

काठमाडौं (कास)– आँखा स्वास्थ्य सेवाको क्षेत्रमा एकै ठाउँबाट सेवा दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई सेन्टरको सेवा सुरु गरिएको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) को अवधारणामा तिलगंगा आँखा अस्पतालका चिकित्सकको समूहबाट यो सेन्टर सञ्चालनमा आएको हो । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा‍. रीता गुरुङले सेन्टरको उद्घाटन गरे । सेन्टरले आँखासम्बन्धी विभिन्न जटिलताको निदान र उपचारका लागि विभिन्न सेवा प्रदान गर्ने बताइएको छ । नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवा प्रदान गर्ने सेन्टरले जनाएको छ । मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाका रोगको उपचार, आँखाको सौन्दर्यसँगै अल्छी आँखाको व्यवस्थापन, कन्ट्याक्ट लेन्स र भिजन थेरापीका सेवासुविधा पनि यो संस्थाले प्रदान गर्ने बताइएको छ ।

Page 11
Page 12
खेलकुद

३६० डिग्रीमा साइकल सरर

क्यानेडियन माउन्टेन बाइक रेसर कोरे वालेसले सर्भे गरेको ‘काठमाडौं ३६० डिग्री’ को रुट उपत्यकाको डााडामुनिको भागलाई एक फन्को लगाउनु हो, जुन रेस पूरा गर्ने आफू एक्लो नेपाली भएको समन लम्सालको दाबी
- विनोद पाण्डे

(काठमाडौं)
कोरे वालेस । ३–४ वर्षअघि यी क्यानेडियन माउन्टेन बाइक रेसर नेपाल आएका थिए । उनी विश्वको शीर्षस्थ साइक्लिस्टमा पर्छन् । २४ घन्टे रेस उनले चारपल्ट जितिसकेका छन् । २४ घन्टामा उनले ३ सय ५० देखि ४ सय किलोमिटर साइकल दौडाएका छन् ।
उनी प्रत्येक वर्ष नेपाल आउँछन् । अन्नपूर्ण सर्किट २४ घन्टामा पूरा गर्छन् । काठमाडौंबाट बेसीसहर एक दिनमा साइकल चलाएर पुग्छन् । नेपालका समन लम्सालले उनको गतिविधि पछ्याउँदै आएका थिए । काठमाडौं ३६० डिग्री रुट २–३ दिन लगाएर सर्भे गरी एकै दिनमा पूरा गर्ने उनै वालेस हुन् ।
काठमाडौं ३६० डिग्रीका केही भागमा मान्छेले साइकल त कुदाउँथे तर ललितपुर लेलेबाट बडीखेलतिरको बाटो होस् या कलंकीबाट नागढुंगा पछाडि रामकोटबाट झर्ने बाटाहरू केही कठिन थिए । वालेसबाहेक काठमाडौं ३६० डिग्री एकै दिनमा अहिलेसम्म कसैले साइकल चलाएका थिएनन् । उनका यी गतिविधि समनले नजिकबाट नियालिरहेका थिए । १ सय ७५ किलोमिटरको काठमाडौं ३६० डिग्री रुट वालेसले १४ घन्टा हाराहारीमा पूरा गरेका थिए । समनलाई यसले झन् प्रभावित बनायो ।
उनी काठमाडौंबाट चितवनसम्म साइकलमै जान्थे । स्टामिनाले त भ्याउँथ्यो तर विदेशबाट कहाँको कहाँको मान्छे आएर यस्तो हाइ अल्टिच्युडको काठमाडौं ३६० डिग्री रुट सजिलै पूरा गरेपछि समनमा पनि केही गरौं भने हुटहुटी चल्यो । यो रुटमा म पनि यसरी दौडाएर त्यो समयमा पूरा गर्न सक्छु कि सक्दिनँ भनेर कौतूहल जाग्यो । विनोद ढकालसँग उनले एक होइन दुईपल्टसम्म प्रयास गरे । १ सय २० किलोमिटरसम्म धेरै गाह्रो हुँदा उनीहरूको स्टामिना घट्ने, न्युट्रियन्स घटेर प्रेरणा नै हराएर जान लाग्यो ।
३६० डिग्रीको रुट जर्सिङपौवाबाट सुरु भई नगरकोट, नाला, साँगा, आशापुरी, लाकुरीभन्ज्याङ, छापखर्क, गोदावरी, बडीखेलबाट भित्री बाटो हुँदै टीकाभैरव, छम्पी, बुङ्मती झरेर वसन्तडाँडाबाट करिडोरको बाटो कीर्तिपुर भएर चन्द्रागिरि, कलंकी, भीमढुंगा, रामकोट, बालाजु बाइपास, मुड्खु, भ्यूटावर, टोखा, बूढानीलकण्ठ, तारेभीर उकालो पुगेर टुंगिन्छ । १ सय ७५ किलोमिटरको यो दुरी पूरा गर्दा कुल उचाइ ५ हजार मिटरभन्दा माथि पुग्छ । केहीले काठमाडौं ३६० डिग्रीमा सिन्धुपाल्चोकलाई पनि जोड्छन् । वालेसले बनाएको सर्किटमा सिन्धुपाल्चोकविनाको छ । सिन्धुपाल्चोक जोडेको काठमाडौं ३६० डिग्री रेस पूरा गर्न २४ घन्टासम्म लाग्न सक्छ । त्यो निकै कठिन छ ।
तेस्रो पटकमा उनले यो रुट जसरी नि पूरा गर्छु भन्ने प्रण गरे । बिहान साढे ३ बजे उठे । ४ बजे घरबाट निस्किएर ३६० डिग्री रुटको पहिलो विन्दु जर्सिङपौवा पुगे । माउन्टेन बाइकको सबैभन्दा ठूलो रेसहरू पुरा गरिसकेका वालेसभन्दा समन समयको हिसाबमा १ घन्टामात्र पछाडि रहे । यो कोर्स पूरा गर्नु आफैंमा ठूलो चुनौती थियो, त्यसैले उनलाई वालेसमाथि जितेसरह भयो । यो दूरीलाई समन ‘क्रेजी एडभेन्चर्स’ भन्छन् । यही पागलपनले आफूलाई काठमाडौं ३६० डिग्री साइक्लिङ रेस पूरा गर्ने एक्लो नेपाली बनाएको उनको दाबी छ ।
वालेसले केप एपिक रेस पनि पूरा गरिसकेका छन् । दक्षिण अफ्रिकामा हुने यो विश्वको सबैभन्दा ठूलो सहासिक रेस हो । दुई महिनाअघि गोकर्णमा १८ औं राष्ट्रिय माउन्टेनबाइक च्याम्पियनसिपमा प्रतिस्पर्धी गर्दा समन २३ जनामा १४ औं भएका थिए । २०–२५ किलोमिटरको सर्किटमा तीव्र गतिका लागि प्रतिस्पर्धा हुन्छ । एथलेटिक्समा स्प्रिन्टर र म्याराथनजस्तै रहे समन र शीर्षस्थानका प्रतिस्पर्धीहरू । समन आफूलाई अल्ट्रा म्याराथन शैलीका साइकल रेसर बताउँछन् । उनी अझै च्याम्पियनसिप रेसमा जमिसकेका छैनन् । तर, उनको लक्ष्य एकपल्ट निकै जोखिम मानिएको केप एपिक रेसमा सहभागी हुने छ । ‘एक जुगमा एक दिन’ जस्तै मान्छन् उनी केप एपिकमा प्रतिस्पर्धा । सात दिने यो रेसको सहभागिता दर्ता शुल्क झन्डै ८ हजार डलर पर्छ । वालेससहित विश्वका एकसेएक साइक्लिस्टहरू यो रेसमा आउँछन् । उनी यहाँ पनि वालेसको पथ पछ्याउन चाहन्छन् । वालेसको छवि अल्ट्रा माउन्टेन बाइक रेसिङमा प्रतीक जस्तो छ । उनलाई सबैले मान्छन् । अन्नपूर्ण सर्किट मान्छेहरू हिँडेर ११ दिनमा पुग्छन् । उनी २० घन्टा जस्तोमा पुग्छन् । बेसीसहरदेखि बेनी पुग्न उनले २० घन्टामात्र लगाएका थिए ।
काठमाडौं ३६० डिग्री साँझ ७ बजेतिर पुग्दाको शीतलताले उनलाई पनि वालेसको अनुभूति दिलाएको थियो । उनका लागि फुटबलका पेले, क्रिकेटका तेन्दुलकर भनेजस्तै माउन्टेन बाइक साइकलका वालेस नै हुन् । समनले पनि काठमाडौं बेसीसहर एकै दिनमा पूरा गरेका थिए । १ सय ८० किलोमिटरको दुरि एकै दिनमा पुरा गर्नु पनि उनका लागि एउटा कोसेढुंगा नै थियो । काठमाडौंबाट बेसिसहर हुँदै अन्नपूर्ण सर्किट पुरा गरेर पोखरा २ दिन बसी ११ दिनमा काठमाडौं फर्किएका थिए । काठमाडौं ३६० डिग्रीका क्रममा ५–६ वटा स्निकर, त्यति नै पोका जीवनजल बोक्छन् । बाटोमा अण्डा, चना खान्छन् । ३६० डिग्री पूरा गर्दा उनले एक्लै साइकल कुदाएका थिए ।
केही अगाडि उनी साइकल लिएर धादिङको रुबीभ्याली पनि पुगेका थिए । उनका लागि त्यो यात्रा सबैभन्दा उत्कृष्टमध्ये एक थियो । सबैभन्दा उत्कृष्ट साइकल रेस उनी अन्नपूर्ण यात्रा नै मान्छन् । त्यो यात्रामा देखिएको दृश्य अरू केहीसँग तुलना नै नहुने उनी बताउँछन् ।
‘आँखै अगाडि टलक्क परेको हिमाल चम्किएको हुन्छ । यसले आफूलाई उत्साहित बनाउँछ । रुबीभ्याली पनि अलिक जोखिम खालकै थियो । १–१ घन्टाको दूरीमा यो रुटमा होटल, लज भेटिएको थिएन । स्याफ्रुबेंसीबाट माथि मुस्किलले ५ होटल छन् । मान्छे भेटिनै गाह्रोपर्छ यो रुटमा,’ उनले अनुभव सुनाए ।
समय फेरिएको छ । जसलाई समन आफ्नो आदर्श ठान्थे उनले नै उसको यात्रा देखेर समाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका हुन्छन् । कहिलेदेखि साइकल रेस सुरु गरेको, कुन रेस गर्ने इच्छालगायतको विषयमा वालेसले नै समनसँग प्रश्न गरिरहेका हुन्छन् । वालेससँग समनले एकपल्ट भेटेका छन् । जतिखेर उनी सुरुआती साइकल रेसमा थिए, वालेसले चिन्नै अवस्था नै भएन । अहिले उनै वालेसले समनको गतिविधि नियालिरहेका हुन्छन् । साइकल रेसिङलाई उनी ‘प्यासन्स’ मान्छन् । दैनिक ८ घन्टा अफिसको काम गरेर उनी सप्तान्हमा साइकल कुदाउँछन् । तर, फिटनेस कायम राख्न अन्य दिन विभिन्न अभ्यासहरू गर्ने गर्छन् । १० कक्षासम्म उनी होस्टेलमा बसेर पढे । अरू साथीहरू घुम्न पाउँथे, उनी कहींबाहिर निस्किन पाउँदैनथिए । अभिभावकहरू पनि व्यस्त थिए । त्यसैले उनको दिमागमा होस्टेल लाइफ सकिएपछि घुमेको घुम्यै गर्छु भन्ने थियो । १० कक्षा सकिएपछि मोटरसाइकल किनिदिनुपर्छ भनेर बाआमासँग जिद्दी गर्न लागे । तर, मोटरसाइकलको बढ्दो जोखिमका कारण अभिभावक यसमा समनसँग सहमत भएनन् । एक त अभिभावक मदन र सविता आफैं सञ्चारकर्मी भएका कारण मोटरसाइकल दुर्घटनाका समाचार निरन्तर हेरिरहन्थे । अर्को उनीहरूले कहिल्यै मोटरसाइकल चढेनन् । चार चक्केमै सुरक्षित ठाने । तर मोटरसाइकल नकिनिदिएकामा समन रिसले चुरमुरिएका थिए ।
११ मा पढ्दै गर्दा जन्मदिनको दिन अभिभावकले उनलाई साइकल किनिदिएका थिए । उनका चाहना मोटरसाइकल नै थियो । तर, साइकल भए पनि केही निश्चित स्थानमा पुग्न सकिन्छ भनेर उनले त्यसलाई अन्ततः स्वीकारेका थिए । अभिभावकले साइकल किन्दिएको भोलिपल्ट उनी त्यो जोसमा साइकल लिएर अनामनगरबाट सुन्दरीजल माथि पुगेका थिए । उनलाई त्यस यात्रामा केही गाह्रो भएको थियो । अहिले त यति दुरी उनलाई केही जस्तो पनि लाग्दैन । त्यसको एक वर्षपछि उनले आफ्नो स्टामिना बढाउँदै गए । दसैंमा अभिभावक गाडीमा काठमाडौंबाट चितवन जान्थे । पहिलो पटक उनी काठमाडौंबाट चितवन साइकलमा १२ घन्टामा पुगेका थिए । काठमाडौंबाट चितवन आफ्नो पुर्ख्यौली ठाउँ साइकलमा पुग्दा त्यहाँ धेरै आश्चर्यमा परेका थिए । धेरैले बसमाथि साइकल राखेर आएको हो भनेर पनि सोधे । रुट परिवर्तन गर्दै उनी काठमाडौंबाट चितवन पुग्ने सबै बाटो साइकलबाटै अनुभव लिइसकेका छन् ।
उनी क्यानोन माइन्टेन बाइक चलाउँछन् । यो साइकल नेपालमा एउटामात्र भएको समनले दाबी छ । बुवा अमेरिकाबाट आउँदा उनलाई यो साइकल ल्याइदिएका थिए । नेपालमा यसको मूल्य ६ लाख पर्छ । एक पटक सर्भिसिङ गर्दा ५ हजारसम्म लाग्छ । पार्टस पनि निकै महँगो हुन्छ । एउटा रेस पुरा गरेपछि साइकलको मर्मत सम्भार गर्नुपर्छ । त्योभन्दा अगाडि उनीसँग सामान्य खालको क्युब साइकल थियो । नेपालमै १२ लाखसम्मको साइकल पाउने उनी सुनाउँछन् । साइकलले उनमा व्यक्तिगत स्वभावमै परिवर्तन ल्याएको छ । लजालु र अन्तरमुखी स्वभावका उनी साइकलकै कारण हिम्मतिलो बनेको अनुभव गर्छन् । उनले एक दिन काठमाडौं उपत्यका साइकलमैत्री बन्ने आशा राखेका छन् ।
साइकल बनाउने पार्टस बोकेरै उनी दुई पांग्रेमा सयर गर्छन् । जंगलको बाटोमा अरू साथीले जंगली जनावर पनि आमनेसामने गर्नुपरेको छ । समनले अहिलेसम्म त्यस्तो अनुभव गर्नुपरेको छैन । जनावरले आक्रामण गर्न मानिसलाई पहिलो सूचीमा राखेको हुँदैन, जनावरले पहिला आफै सुरक्षित हुन खोज्ने समनको बुझाइ छ । तर, उनी आफ्नो सुरक्षाका लागि चक्कु बोकेका हुन्छन् । उनलाई डर भन्ने केही नै छैन । सायद यही कारण उनमा जस्तोसुकै अप्ठ्यारो रुटमा पनि साइकल चलाउने आँट आइरहेको छ ।

खेलकुद

‘उपाधिले उत्साह बढेको छ’

- कान्तिपुर संवाददाता

(काठमाडौं)
क्वालालम्पुर, मलेसियामा चार देशसम्मिलित महिला ट्वान्टी–२० सिरिजको उपाधि जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक सामसनजंग थापाले आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ एसिया छनोटलाई उत्साह बढेको बताएका छन् ।
‘सिरिजको उपाधिले खेलाडीको मनोबल उच्च बनाएको छ, आत्मविश्वासी बनाएको छ, सबैको मनोबल उच्च पारेको छ,’ प्रशिक्षक थापाले क्वालालम्पुरबाट भने, ‘हाम्रो लक्ष्य विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्ने हो । यसपालि जसरी भए पनि ग्लोबल क्वालिफायरमा पुग्छौं भनेर अगाडि बढेका छौं । यसमा सिरिजको उपाधिले उत्साह बढेको छ ।’
स्तरीय ब्याटिङ, अनुशासित बलिङ र राम्रो फिल्डिङ गरेर टिमको कमी कमजोरी सुधारेर लक्ष्यमा पुग्न सक्ने पनि उनले बताए ।
एसिया छनोट भदौ १७ देखि २६ सम्म मलेसियामा हुनेछ । यसमा ११ देशले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘बी’ मा रहेको नेपालले घरेलु टिम मलेसिया, बहराइन, भुटान, कतार र युएई (युनाइटेड अरब इमिरेट्स) विरुद्ध प्रतिस्पर्धा गर्नेछ भने चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्यान्ड समूह ‘बी’ मा खेल्दै छन् । ‘हामीलाई लक्ष्यमा पुग्न समूहको विजेता हुनु महत्त्वपूर्ण हुनेछ,’ समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने एसिया छनोटबारे प्रशिक्षक थापाले भने, ‘हाम्रा लागि समूह चरणमा मुख्य चुनौती मलेसिया र युएई नै हुन् ।’ एसिया छनोटका फाइनल खेल्ने दुई टिम विश्वकप २०२४ को ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।
उनको टिमले वायुमास ओभल मैदानमा शनिबार फाइनलमा हङकङलाई डकवर्थ लुइस पद्धतिको आधारमा १३ रनले हराएर चार देशसम्मिलित महिला ट्वान्टी–२० सिरिजको उपाधि जितेको थियो । सिरिजमा नेपालले हङकङमाथि दोहोरो जित हात पारेको हो किनभने समूह चरणको भेटमा नेपालले ६ विकेटको जित हात पारेको थियो । त्यसपछि कुवेतमाथि ३४ रनको जित हात पारेको थियो । तर, समूहको अन्तिम खेलमा नेपाललाई मलेसियाले ६ विकेटले हराएको थियो । समान चार अंक भए पनि नेट रनरेटको आधारमा शीर्ष दुईमा रहँदै नेपाल र हङकङले फाइनल खेल्ने अवसर पाएका हुन् ।
‘हङकङ वर्ल्डकप क्वालिफायर खेलिसकेको टिम हो । धेरै राम्रा ब्याटर भएको टिमलाई सिरिजमा हामीले दुईपल्टै हराउन सफल भएका छौं,’ प्रशिक्षक थापाले भने, ‘मलेसियाविरुद्ध हार्‍यौं तर सिरिजमा हाम्रो प्रदर्शनलाई नराम्रो भन्न मिल्दैन । कमी–कमजोरी छ । त्यसलाई सच्याएर वर्ल्डकप क्वालिफायरमा राम्रो क्रिकेट खेल्नेछौं ।’ उनले सिरिजको फाइनलमा हङकङविरुद्ध नेपाली टिमले राम्रो प्रदर्शन गरेको बताए ।

'पावर प्लेको फाइदा उठायौं'
फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालले खुशी डंगोलको उत्कृष्ट बलिङ सहयोगमा हङकङलाई १०१–६ मा रोकेको थियो । एक सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुआत राम्रो भएन । इक्राले काजल श्रेष्ठलाई रनको खाता नखोल्दै एलबीडब्लू धरापमा पारिन् । त्यसपछि इन्दु बर्मा र सीता रानामगरले इनिङ्स सम्हाले ।
इन्दु र सीताले आक्रामक ब्याटटिङ गर्दै नेपाललाई ५.३ ओभरमा ३७–१ को स्थितिमा पुर्‍याएपछि वर्षा भयो र खेल रोकियो । त्यसबेला इन्दु १९ रन (१९ बल) र सीता १३ रन (१३ बल) मा खेलिरहेका थिए । निरन्तर वर्षाले पुनः खेल सुचारु भएन र डीएलका आधारमा १३ रनको जितसहित नेपाललाई सिरिज विजेता घोषणा गरियो । इन्दुले प्लेयर अफ दि सिरिजको अवार्ड पनि जितिन् ।
‘मलेसियामा कुन बेला पानी पर्छ थाहै हुँदैन । मौसमको पूर्वानुमान गाह्रो रहेछ,’ प्रशिक्षक थापाले भने, ‘हाम्रा लागि फाइनलमा टस जित्नु राम्रो भयो । पावर प्लेको फाइदा उठाएर डीएल मेथडलक्षित गरी सकारात्मक क्रिकेट खेल्यौं । सुरुमै एउटा विकेट गइसकेपछि हामीलाई विकेट बचाउनु पनि जरुरी थियो । यस्तोमा दुई ब्याटर (इन्दु र सीता) ले राम्रो प्रदर्शन गरे । हामीले पावर प्लेको फाइदा उठायौं । हाम्रो बलिङ पनि राम्रो भयो । पिच पनि राम्रो थियो । त्यो पिच ब्याटिङका लागि राम्रो भएको थियो । पूरा खेल भएको भए पनि ब्याटरले राम्रो गर्छ भन्ने विश्वास थियो ।’
हङकङको इनिङ्समा ४५ बलमा २९ रन जोड्दै सम्हालिरहेकी कप्तान केरी चानलाई खुशीले बोल्ड गर्दै पिचबाट हटाएकी थिइन् । उनले २० बलमा १९ रन जोडेकी मरिना ल्यापलफलाई पनि बोल्ड गरिदिइन् भने मरियम बीबीलाई १ रनमै पवेलियन फर्काइन् । यही सिरिजमा डेब्यु गरेकी उनले तीन ओभरको बलिङ स्पेलमा २० रन खर्चदै ३ विकेट लिइन् । अस्मिना कर्माचार्य र कविता जोशीले एक–एक विकेट लिए । यासमिन दस्वानीले ११ रन, सान्जिन साहजादले १० बलमा नटआउट १४ रन र इक्रा सहरले ८ बल खेल्दै नकआउट १० रन बटुल्दै हङकङलाई उकास्ने प्रयास गरेका थिए ।
नेपाली महिला टिमले जेठ महिनामा मलेसियाविरुद्ध बांगीमा भएको ५ खेलको टी–२० सिरिज ३–२ ले जितेको थियो । त्यसैले नेपालले दुई देशभन्दा बढी सहभागी प्रतियोगिताको उपाधि १६ वर्षयताकै पहिलो हो । यसअघि सन् २००७ मा मलेसियामा भएको एसीसी वुमेन्स ट्रफी र २०१६ मा हङकङमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा उपविजेता हुनु नै सबैभन्दा ठूलो उपलब्धि थियो ।

खेलकुद

भगवती कप भलिबल हुने

छोटकरी

पाल्पा (कास)– श्रीनगर भलिबल क्लबले तानसेनमा प्रथम रणउजीरेश्वरी खुला भगवती कप भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपाल–अंग्रेज युद्धमा नेपाली फौजले विजय पाएको सम्झनामा मनाइने भगवती जात्रामा भलिबल प्रतियोगिता हुन लागेको हो । तानसेनको टुँडिखेलमा भदौ १८ देखि २१ सम्म हुने प्रतियोगितामा कम्तीमा १० टिमले भाग लिने आयोजक क्बलले जनाएको छ । क्लबका अध्यक्ष कृष्ण आलेले विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ७७ हजार ७ सय ७७, तेस्रोले ४४ हजार ४ सय ४४ र सान्त्वना हुने टिमले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए । पाल्पामा खेलकुदको विकास गर्न र खेल पर्यटक भित्र्याउन खेल प्रतियोगिता गरिरहन तयार रहेको जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष दीपक घिमिरेले बताए ।

खेलकुद

बुद्धिचाल टोली यूएई जाने

छोटकरी

काठमाडौं (कास)– युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भदौ ११ देखि १७ सम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा भाग लिन नेपाली टोली आइतबार दुबईमा जाने भएको छ । धनगढीमा सम्पन्न पाँचौं राष्ट्रिय एमेच्योर खुलातर्फका विजेता दोलखाका आशिष फुयाल र महिला विजेता कैलालीकी कुसुम पाण्डे छन् । अन्य खेलाडीमा कैलालीका धनबहादुर बोगटी, कञ्चनपुरका भीमदत्त पाण्ड्ये, दोलखाका राजीव कार्की, कैलालीका जितबहादुर क्यापछाकी, दोलखाका गोविन्दमान श्रेष्ठ र भोजराज चौलागाई छन् । आशिषले २००० रेटेडतर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीले १७०० मुनिको रेटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

खेलकुद

ग्रिनल्यान्ड र भ्याली विजेता

छोटकरी

काठमाडौं (कास)– ग्रिनल्यान्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकले दसौं ग्रिनफिल्ड कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बने । आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा शनिबार ग्रिनल्यान्डले जेनिथलाई ६१–६० ले पराजित गर्‍यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले ३१ स्कोर जोडे । जुनियर फाइनलमा एन्जल्स हार्टले ज्ञान निकेतनलाई ३०–२२ ले हरायो । एन्जल्सका रुपेश पौडेलले ७ स्कोर गरे । गर्ल्समा भ्याली पब्लिकले संस्कृतिलाई ३४–१८ ले हराउँदा भ्यालीकी अनिता गुरुङले १० स्कोर गरिन् । ग्रिनल्यान्डका प्रवीण गुरुङ, एन्जल्स हार्टका रुपेश पौडेल र भ्यालीकी मुस्कान गुरुङ मोस्ट भ्यालुएबल प्लेयर भए ।