You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

उत्पादन रेडियो नेपालको, रजाइँ निजी कम्पनीको

- सजना बराल,दीपक सापकोटा,फणीन्द्र संगम

(काठमाडौं)
सकेसम्म अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्ति दिन नखोज्ने भजनशिरोमणि भक्तराज आचार्य स्वास्थ्यका कारण थलिएका छन् । यतिबेला उनी तनावरहित अवस्थामा आराम गरेर बस्नुपर्ने हो । तर बेलाबेला झस्किन्छन्, आफ्ना सिर्जनाको व्यापारिक दुरुपयोग गरिएकामा ।
आचार्यका ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जति चोट दिन्छौ, देऊ मायालु’, ‘माया मेरी साँझ बनी’, ‘सबै बेहोसी नशा’ जस्ता सांगीतिक सिर्जना अहिले म्युजिक नेपालदेखि क्रेजी राग्स, पान्डो मेलोडिजजस्ता युट्युब च्यालनमा छरपस्ट अपलोड भएका छन् । दर्जनौं गीत युट्युब, स्पटीफाई, एप्पल म्युजिकजस्ता विश्वका कैयौं डिजिटल प्लाटफर्ममार्फत बिक्रीवितरण भइरहँदा आफूले त्यसबाट प्राप्त हुने आयको पारदर्शी जानकारी र आर्थिक लाभांश (रोयल्टी) नपाएकामा उनको ठूलो चित्त दुखाइ छ ।
रेडियो नेपालको लगानीमा तयार भएका गीत आचार्य आफैंले २०४३, २०५० र २०५७ सालमा म्युजिक नेपाललाई सर्तसहित उपलब्ध गराएका थिए । ‘रेडियो नेपालबाट तपाईंका गीत हराउन सक्छन्, हामी सुरक्षित राखिदिन्छौं, फोटोसहितको एल्बम निकालिदिन्छौं र तीन–तीन महिनामा रोयल्टी पनि दिन्छौं भनेर म्युजिक नेपालले मसँग मागेको थियो,’ छोरा सत्यराजको सहयोगमा उनी भन्छन्, ‘अरू कलाकारलाई पनि त्यसै भनेको रहेछ । त्यसपछि उसले करारमा लेनदेन र अवधिजस्ता महत्त्वपूर्ण कुरा नै छुटाएर चतुर्‍याइँपूर्वक आफूअनुकूल सम्झौतापत्र बनाएछ । सर्वाधिकार म्युजिक नेपालमा हुने भनेर पनि लेखेको रहेछ ।’ आफूले अडियो क्यासेट र सीडीको जमानामा सम्झौता गरेको र सुरक्षित राख्छु भनिएका गीतसंगीत बिक्रीवितरण गरी वास्तविक आम्दानीसमेत नदेखाएपछि अन्यायमा परेको महसुस भएको उनी बताउँछन् । गीत कहाँकहाँ बेचिएको हो, कुन प्लाटफर्ममा कति पटक बजेको भन्ने विवरण नदेखाई दसैंका बेला बक्सिसझैं ५/१० हजार रुपैयाँ दिने गरेको उनको भनाइ छ । पछिल्लो समय त्यस्तो रकम उनले अस्वीकार गरेका छन् । उनका छोरा गायकद्वय सत्य–स्वरूप आचार्य बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको विषय अब अदालतबाट सल्ट्याउने योजनामा छन् ।
उनीहरू जस्ता थुप्रै सर्जक अदालत तथा अन्य सरकारी निकायसम्म पुगे पनि खासै सुनुवाइ नभएको र म्युजिक नेपाललगायत व्यावसायिक कम्पनीले अन्यायमा पारेको गुनासो गर्छन् ।
यो विषय सर्जकको गुनासोका कारण मात्रै गम्भीर बनेको होइन, बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि, विद्यमान ऐन/कानुनको बर्खिलाप भएकाले सरोकारवालाको ध्यान आकर्षित गरेको हो । अधिवक्ता तथा नेपाल गीतकार संघका संस्थापक सदस्य राम भट्टराई
सो ऐनसँगै प्रतिलिपि अधिकार नियमावलीलगायत नेपाल पक्ष भएका रोम र बोन सन्धिहरूको मर्मअनुसार पनि आफ्ना सिर्जना कहाँ र कसरी व्यावसायिक रूपमा प्रयोग भएका छन् भन्नेमा सर्जकहरूको अधिकार रहनुपर्ने बताउँछन् । प्रतिलिपि अधिकार ऐन, २०५९ ले प्रस्तोता, उत्पादक, प्रसारण संस्थाको अधिकार र कार्यक्षेत्रको स्पष्ट परिभाषा गरेको छ ।
‘रेडियो नेपालका केही स्रष्टा र कर्मचारीको बदनियतका कारण यी सबै सिर्जना व्यावसायिक प्रयोजनका लागि दुरुपयोग हुने गरी निजी कम्पनीसम्म पुगेका हुन् र यसैलाई ती कम्पनीले आफूले स्रष्टासँग राजीखुसीमा लिएको भनेर परिभाषित गर्दै आएका छन्,’ भट्टराई भन्छन्, ‘विभिन्न स्रष्टा मिलेर सिर्जना गरिएको संगीत वा अन्य बौद्धिक सम्पत्तिलाई एक पक्षसँग सोधेर वा सोध्दै नसोधी उचित रोयल्टी नतिरी बिक्रीवितरण गर्नु कानुनी र नैतिक रूपमै अक्षम्य काम हो ।’ प्रतिलिपि अधिकार ऐनको दफा २५ ले अनुमतिप्राप्त गरेको भए पनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख सर्त उल्लंघन गरी आर्थिक लाभ उठाउने उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा प्रतिलिपि बिक्री वा भाडामा दिएमा संरक्षित अधिकार उल्लंघन भएको मानिने व्यवस्था गरेको छ ।

अधिवक्ता भट्टराई कानुन फितलो हुनु र बनेका कानुन पनि लागू गर्न सम्बन्धित निकाय अनिच्छुक रहनुले अहिलेको अवस्था सिर्जना भएको तर्क गर्छन् । बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार उल्लंघनका विषयमा विभिन्न समयमा अदालतमा मुद्दासमेत परेका छन् । तिनको फैसला हुनासाथ सर्जकहरूले थप मुद्दा हाल्ने तयारी गरेको जनाएका छन् । ‘बसमा छैन मेरो मन’ गीतका संगीतकार राजन इशानले रञ्जना र इन्द्रेणी क्यासेटविरुद्ध २०७६ सालमा हालेको मुद्दा टुंगिएको छैन भने गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिकबीचको विवाद अदालतमा विचाराधीन छ । यस विषयमा अख्तियारमा समेत उजुरी परेको छ, जसको छानबिन भएकै छैन ।
प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा पनि केही थान उजुरी अलपत्र अवस्थामा छन् । स्रष्टा अधिकारको रक्षा र दोषीलाई कारबाहीका लागि काम गर्नुपर्ने सो तालुकदार निकायले चासो नदेखाएकाले पनि स्रष्टाहरू अदालत जान हिचकिचाएको गीतकार महेश आचार्यले बताए ।
सरकारको लगानीमा वा स्रष्टा आफैंले पैसा हालेर तयार पारेका गीतसंगीत म्युजिक नेपालजस्ता कम्पनी र डिजिटल एग्रिगेटरले बेइमानीपूर्वक डिजिटल प्लाटफर्ममार्फत बिक्रीवितरण गर्ने र उचित लाभांश वितरण नगरेको विषयमा लामो समयदेखि विवाद चलिरहेको छ । यसलाई लिएर संगीतकर्मीहरू बेलाबखत आन्दोलित हुने गरेका छन् । सरोकारवाला निकायदेखि सरकार फेरिँदैपिच्छेका नेता, मन्त्री र प्रधानमन्त्रीलाई यसबारे जानकारी गराउँदासमेत कसैले सुनुवाइ नगरेको सर्जकको भनाइ छ ।

म्युजिक नेपालसँगको विवाद
नेपालकै पुरानो र सबैभन्दा ठूलो म्युजिक कम्पनी तथा डिजिटल एग्रिगेटरका रूपमा म्युजिक नेपालले नयाँ/पुराना संगीतकर्मीका गीति सामग्री युट्युबलगायतका आफ्ना प्लाटफर्ममा राख्दै आएको छ । त्यसबापत प्राप्त आयको स्रोत, ड्यासबोर्ड र इन्साइट्स पारदर्शी नदेखाई आफ्नो तजबिजीमा रोयल्टी दिँदै आएको एकथरी स्रष्टाको गुनासो छ । महत्त्वपूर्ण प्रश्नचाहिँ, कम्पनीले रेडियो नेपाल, नेपाल टेलिभजनजस्ता सरकारी निकायको लगानीमा बनेका गीतसंगीत अपूरो सम्झौता र खुलेआम बिक्रीवितरण गर्दै आएकामा उठेको हो ।
२०२२ सालबाट नियमित रेकर्डिङ सुरु गरेको रेडियो नेपालले सर्जक, वाद्यवादक सबैलाई पारिश्रमिक र केहीपछि सम्म रोयल्टीसमेत दिएर गीत रेकर्ड गराउने स्रष्टाहरू सम्झन्छन् । गीतकार कृष्णहरि बरालका अनुसार रेडियो नेपालले गीत रेकर्डपछि स्रष्टालाई बुझाउने सम्झौतापत्रमा ‘यो गीत रेडियो नेपालको सम्पत्ति हुनेछ’ भन्ने व्यहोरा उल्लेख हुन्थ्यो । ‘त्यतिबेला ३० रुपैयाँ रोयल्टी दिँदासमेत त्यो कुरा लेखिन्थ्यो,’ उनी भन्छन्, ‘त्यस कुरालाई कसले मान्ने, कसले टेर्ने ?’
२०३९ सालमा म्युजिक नेपाल स्थापना भएपछि कम्पनीले क्यासेट चक्का र सीडीमा गीत राखिदिने भन्दै आफूसँग गीत मागेको भजनशिरोमणि आचार्य स्मरण गर्छन् । फरक सन्दर्भमा गरिएको सम्झौता समयानुकूल अद्यावधिक गरिनुपर्ने, आयआर्जनको पारदर्शी विवरण खुलाइनुपर्ने उनको माग छ । ‘हामी संगीतकर्मी सधैं अन्याय र पेलानमा परिरहने, लुटिइरहने रहेछौं,’ उनले गुनासो गरे, ‘म्युजिक कम्पनीहरू पारदर्शी नहुँदा पनि फरक नपर्ने रहेछ किनकि यस विषयमा सरकारलाई कुनै चासो छैन ।’
‘एउटा मान्छेको मायाले कति’, ‘यति धेरै माया दिई’ लगायत हजार बढी गीतका सर्जक संगीतकार दीपक जंगम आफूहरूले उठाउने आवाजलाई व्यक्तिगत ईबीका रूपमा चित्रण गरिने र कानुनी छिद्रको फाइदा उठाएर राज्यको सम्पत्ति दोहन गर्नेहरूबाट मर्कामा परेको बताउँछन् । ‘स्रष्टाका यी पीडा वर्षौंदेखिको हो । आफ्नो बौद्धिक सम्पत्ति जोगाउन रेडियो नेपाल अग्रसर हुनुपर्ने हो,’ रेडियोका कर्मचारीकै मिलेमतो हुन सक्ने भन्दै उनले थपे, ‘पुराना स्रष्टा मुद्दामामिला र वादविवादमा धाउन सक्ने अवस्थामा छैनन् । संस्थागत रूपमा रेडियो नेपाल र सरकारको जिम्मेवारी हो ।’
म्युजिक नेपाललगायत अन्य कम्पनी र बिचौलियाले कब्जा गरेका सिर्जना युट्युब, एप्पल म्युजिक, स्पटीफाई, अमेजनजस्ता विश्वका सयौं स्ट्रिमिङ प्लाटफर्म र वेबसाइटमा राखेर खुलेआम बिक्री गर्दै आइरहेको विषयमा संगीकर्मीले दुई वर्षअघि नै व्यापक आवाज उठाएका थिए । कलर रिङ ब्याक टोनमा पनि रेडियो नेपालले उत्पादन गरेका सांगीतिक सम्पत्ति प्रयोग भएकाले ती कुन समयमा, कसको अनुमतिमा, कुन नियमअनुसार हस्तान्तरण भए, रेडियो नेपालले कति आम्दानी गर्‍यो, स्रष्टाले कति पाए भन्नेबारे विवरण माग गर्दै गीतकार एवं संगीतकार संघले संयुक्त रूपमा रेडियो नेपाललाई पत्रसमेत बुझाएको थियो ।
‘रेडियो नेपालको स्वामित्वमा रहेका कुनै पनि श्रव्य सामग्री, गीत, संगीत, नाटक र यस्तै अन्य सामग्री कुनै व्यक्ति तथा संस्था, कम्पनी, कार्यालय कसैलाई पनि आयआर्जन गर्ने गरी उपलब्ध गराएको छैन,’ रेडियो नेपालका तत्कालीन कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पठाएको जवाफीपत्रमा भनिएको थियो, ‘त्यो बेला रेडियो नेपालले आफ्ना उत्पादन अनुमतिबेगर बिक्री वितरण गर्नेलाई सजाय दिलाउनेसमेत बताएको थियो । तर यसबारे कुनै पहल भएको छैन ।’
रेडियो नेपालका प्रवक्तासमेत रहेका निर्देशक पुष्करराज गौतमले ६/७ महिनाअघि म्युजिक नेपालसँग एक चरण छलफल गरेको बताए । ‘यस विषयमा धेरै काम त भएको छैन तर छलफल सुरु भएको छ,’ उनले भने, ‘उहाँहरूले हाम्रा उत्पादन फिर्ता गर्न तयार छौं भन्नुभएको थियो ।’ छलफलमा सहभागी रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले पनि रेडियो नेपाल र म्युजिक नेपालबीच एक–अर्काका गीतसंगीत फिर्ता गर्ने सहमति भएको बताए । ‘कुन–कुन गीत हाम्रा हुन् भन्ने नै अहिलेसम्म यकिन जानकारी छैन,’ उनले भने, ‘अहिले गीत छुट्याउने काम भइरहेको छ । त्यो टुंगिएपछि कुन–कुन र कति संख्यामा हाम्रा गीतसंगीत बाहिरिए भन्ने थाहा हुन्छ ।’
म्युजिक नेपालका महाप्रबन्धक उत्तम थापा भने आधिकारिक प्रमाणसहित रेडियोले ती गीतसंगीतमाथि दाबी गरेमा छलफलबाट टुंग्याउन सकिने र सोहीबमोजिम अगाडि बढ्न सकिने बताउँछन् । ‘उहाँहरूले विभिन्न ठाउँमा रेकर्ड गराएका गीत भनेर हामीलाई उपलब्ध गराउनुभएको थियो, आवश्यक प्रक्रिया पुर्‍याएरै बिक्रीवितरण गरिरहेका छौं,’ उनले भने, ‘करारमा उल्लेख भएबमोजिम रोयल्टी पनि उपलब्ध गराउँदै आएका छौं । रेडियो नेपालले ती गीत हाम्रो हो भन्यो भने त्यो खोजीको बाटो भयो ।’ रेडियोले भनेजस्तो कुनै छलफल र सहमति अघि नबढेको उनले दाबी गरे । आफूहरूले विभिन्न प्लाटफर्ममा राखेका गीतको नैतिक अधिकार स्रष्टामै हुने र आर्थिक अधिकारचाहिँ करारमा उनीहरूले जसलाई दिएका छन्, उसकै हुने थापाको भनाइ छ ।
संगीतकार लक्ष्मण शेष चाहिँ म्युजिक नेपालले ‘गीत सुरक्षित राखिदिन्छु, रोयल्टी पनि दिन्छु’ भनी स्रष्टालाई लोभ्याएर ‘गीतको सर्वाधिकार म्युजिक नेपालसँग हुनेछ’ भन्ने सम्झौता गर्नु नै बदनियतपूर्ण भएको बताउँछन् । उनका अनुसार राज्यको सम्पत्ति लगेर कसैले व्यावसायिक स्वार्थका लागि पेवा बनाउन मिल्दैन । म्युजिक नेपाल ती गीतका उत्पादक नभएकाले सर्वाधिकार लिन नमिल्ने उनको भनाइ छ ।

लुकाइयो प्रतिवेदन
गीतसंगीतसम्बन्धी बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार उल्लंघनलगायत विषयमा सर्जकहरूले रेडियो नेपालसहित तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत उच्च अधिकारीसमक्ष अवगत गराएका थिए । व्यापक दबाबपछि सरकारले २०७६ फागुन २२ मा संस्कृति मन्त्रालयकी तत्कालीन सहसचिव लक्ष्मी बस्नेतको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य तथा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयकी तत्कालीन रजिस्ट्रार विष्णुकुमारी भट्टराई सदस्यसचिव रहने गरी अध्ययन समिति बनाएको थियो । गीतकारसमेत रहेका पूर्वमन्त्री एसपी कोइराला, वरिष्ठ गीतकार यादव खरेल र पूर्वरजिस्ट्रार रामकृष्ण तिमिल्सिना त्यसका सल्लाहकार थिए ।
समितिले २०७८ असारमा तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । बिचौलियाको चलखेलमा सरकारले प्रतिवेदन गोप्य राखेको भन्दै संगीकर्मीहरूले विरोध जनाएका छन् । सल्लाहकारका रूपमा समितिमा रहेका संगीतकर्मी एवं स्रष्टाहरू स्वयं प्रतिवेदन सार्वजनिक नगरिएकामा रुष्ट छन् । उनीहरूको अनुमानमा विभिन्न कम्पनीमध्ये म्युजिक नेपालले मात्रै सरकारी लगानीमा उत्पादित ५० हजारभन्दा बढी सिर्जना आफूखुसी बेचबिखन गर्दै आएको छ ।
विभिन्न सर्जक र संगीतकर्मीका २५ हजारभन्दा धेरै मौलिक गीतसंगीतको डिजिटल भर्सन आफूसँग रहेको कम्पनीले जनाएको छ । गीतहरूको यो भण्डारणमा नेपाली संगीतको ९० प्रतिशत हिस्सा समावेश रहेको उसको दाबी छ । आफूलाई म्युजिक बैंकका रूपमा चिनाउने म्युजिक नेपालले
आफ्ना युट्युब भिडियोबाट दैनिक अनुमानित ३३ लाख रुपैयाँदेखि साप्ताहिक अधिकतम साढे २ करोड र मासिक ११ करोड रुपैयाँसम्म आम्दानी गर्ने स्रष्टाहरूको धारणा छ ।
तत्कालीन संस्कृतिमन्त्री भट्टराईसमेत उपस्थित रहेको छलफलपछि बनेको समितिले त्यसको एक वर्ष ४ महिनापछि प्रतिवेदन बनाएको थियो । प्रतिवेदनको मस्यौदा संशोधनका लागि बुँदागत रूपमै सुझाव पठाएको गीतकार खरेल बताउँछन् । ‘ती सुझाव समेटिए वा समेटिएनन् भन्नेबारे आधिकारिक जानकारी छैन,’ उनले भने । प्रतिवेदनबारे जिज्ञासा राख्दा संस्कृति मन्त्रालयका उपसचिव टेकनारायण पौडेलले भने, ‘समितिमा हुनुभएकी लक्ष्मी (बस्नेत) म्याडम सरुवा भएर जानुभएकै डेढ वर्ष भइसक्यो, प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा सम्पर्क गर्दा ठीक होला ।’
रजिस्ट्रारको कार्यालयले चाहिँ सो अध्ययन समितिले प्रारम्भिक छलफल थाल्नासाथ कोभिड सुरु भएकाले काम स्थगित भएको प्रतिक्रिया दिएको छ । ‘२०७७ मंसिर २६ मा अन्तिम बैठक बसेपछि समितिले थप केही काम गरेको देखिएन,’ हालका रजिस्ट्रार नीरजकुमार खत्रीले भने, ‘प्रतिवेदन बन्नै बाँकी रहेछ । अहिलेसम्म कसैले सोधीखोजी गर्नुभएको थिएन । अब यसबारे मन्त्रालयमा जानकारी गराउँछु ।’
समितिमा यादव खरेलको प्रतिनिधित्व गरेका संगीतकार एवं संगीत अधिकारकर्मी लक्ष्मण शेष सो प्रतिवेदन जानाजान लुकाइएको दाबी गर्छन् । रजिस्ट्रार कार्यालयले यससम्बन्धी कुनै प्रतिवेदन वा मस्यौदासमेत नबनेको दाबी गरिरहँदा उनले भने कान्तिपुरलाई प्रतिवेदनको मस्यौदा उपलब्ध गराएका छन् । ‘हाम्रो निरन्तर दबाबपछि त्यो बेला सरकारले एउटा अध्ययन समिति बनाइटोपलेको थियो, समितिले कस्तो प्रतिवेदन बनायो र कहिले कसलाई बुझायो, अत्तोपत्तो छैन,’ शेष भन्छन्, ‘म्युजिक नेपालजस्ताले राज्यबाट एक्लैले अवैध अर्बौं आम्दानी गरिरहेको प्रतिवेदनमा उल्लेख छ । त्यही तथ्य/तथ्यांक लुकाउन, अर्बौंको आम्दानी बाँड्नुपर्ला र पुराना कारोबारको पनि क्षतिपूर्ति तिर्नुपर्ने भयका कारण व्यवसायीको चलखेलमा प्रतिवेदन लुकाइएको हो ।’
प्रतिवेदन बनाउनुअघि एक पटक भएको बैठकमा आफू सहभागी भएको उनले बताए । त्यो बेला संगीतको डिजिटल बजारमा कस्ता बदमासी भइरहेका छन् भन्नेबारे प्रमाणसहित बोलेको र प्रतिवेदनमा समेटिनुपर्ने विषयबारे प्रशस्त सुझाव दिएको उनले बताए । ‘हाम्रा सुझावमा तथ्य प्राप्त हुन सकेन भनेर विपक्षीलाई फाइदा पुग्ने गरी प्रतिवेदन बनेको सुनेको छु,’ उनले भने, ‘त्यही भएर पनि बाहिर नल्याइएको हो ।’ सरकारी लगानीमा उत्पादित बौद्धिक सम्पत्तिको अनधिकृत बजारीकरण गरेर म्युजिक नेपालजस्ता कम्पनी र एग्रिगेटरले अर्बौं रकम ठगेको र यो विगतमा भएका ठूला घोटालाभन्दा पनि ठूलो रहेको उनको दाबी छ ।

के भन्छन् संगीतकर्मी ?
गायिका कोमल वली रेडियो नेपालबाट रेकर्ड र उत्पादन भएका गीतको प्रतिलिपि अधिकार र स्वामित्व रेडियोकै हुने र आफूले भने प्रतिलिपि अधिकार बेचेर १५/२० रुपैयाँ रोयल्टी पाइसकेको बताउँछिन् । ‘अहिलेको अव्यवस्थामा कर्मचारीको पनि छलकपट हुन सक्छ तर बिनाआधिकारिक सम्झौता म्युजिक नेपालले राखेको छ भने फिर्ता गर्नुपर्छ र रेडियोले पनि आफ्नो बौद्धिक सम्पत्ति दाबी गर्नुपर्छ,’ उनी भन्छिन्, ‘आधिकारिक सम्झौता गरेर लिनुपर्ने यस्ता सिर्जना प्रक्रियाअनुरूप भएजस्तो लाग्दैन ।’ प्रतिलिपि अधिकार भएको व्यक्तिले कुनै कम्पनीलाई हस्तान्तरण गर्न सक्ने तर त्यो प्रक्रियासम्मत हुनुपर्ने उनको भनाइ छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संगीतकार संघका अध्यक्ष चेतन सापकोटा रेडियो नेपालद्वारा उत्पादित सिर्जनालाई कसैले व्यक्तिगत बनाएर निजी सम्पत्तिसरह बिक्री गरेको भए तस्करीका रूपमा लिएर कारबाही गरिनुपर्ने माग गर्छन् । रेडियो नेपालबाट गीत बाहिरिनुमा त्यहाँका तत्कालीन कर्मचारी प्रशासन नै जिम्मेवार हुनुपर्ने अर्का संगीतकार राजु सिंहको धारणा छ । ‘त्यहाँका सबैको मिलेमतोमा गीतहरू अन्यत्र पुगेका हुन्, रेडियो नेपालबाटै चुहावट हुने गर्छ,’ भन्छन्, ‘त्योचाहिँ एकदमै ठूलो घात हो ।’
बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार उल्लंघनविरुद्धको अभियानमा लागिपरेका गायक दाजुभाइद्वय सत्य–स्वरूप आचार्य आफूहरूमाथि ठूलो अन्याय भइरहेको बताउँछन् ।
‘म्युजिक नेपालले अडियो चक्काको जमानामा १.५ रुपैयाँ रोयल्टी दिने भनेर सम्झौता गर्‍यो, डिजिटल प्लाटफर्ममा गएपछि सम्झौता नवीकरणसमेत नगरी आम्दानीको विवरण नदेखाई आफूखुसी हाम्रा गीतसंगीत बिक्री गर्‍यो,’ उनीहरूको भनाइ छ, ‘आम्दानी र सम्झौता नवीकरणको कुरा गर्दा म्युजिक नेपालले हुन्छ भन्दै वास्तविक हिसाबकिताब नदेखाउने गरेको छ ।’
डिजिटल अधिकारका जानकार अधिवक्ता सन्तोष सिग्देल नेपाल डिजिटल अधिकारको व्यवस्थापन सम्बन्धी आवश्यक बहस नै सुरु नभएकाले बौद्धिक र प्रतिलिपि अधिकारलगायतका विवाद आउने गरेको बताउँछन् । ‘कस्तो किसिमको बौद्धिक सम्पत्तिमा कसको हक कति रहनेजस्ता विषयलाई डिजिटल अधिकार व्यवस्थापनसम्बन्धी छुट्टै विधाको व्यवस्थाबाट सल्ट्याउनुपर्छ,’ उनी भन्छन्, ‘सार्वजनिक यातायातले बजाउने सामग्रीदेखि सीआरबीटी, रियालिटी शो, ओटीटीमा बजाउँदा कसको अधिकार कति र कसरी बाँड्ने, कति वर्षपछि सार्वजनिक हुने भन्ने विषय नै मिलाउनुपर्ने हो ।’

मुख्य पृष्ठ

चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझाव

- जगदीश्वर पाण्डे

(काठमाडौं)
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने राजनीतिक दलका नेता तथा पूर्वराजदूतले बताएका छन् । छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा राखेपछि यसको आलोचना भइरहेको छ ।
पूर्वपरराष्ट्रमन्त्री विमला राई
पौड्यालले प्रधानमन्त्रीले हीनताबोध नगरीकन नेपालको धारणा प्रस्ट राख्नुपर्ने बताइन् । ‘नेपालले नक्सा जारी गर्‍यो र चीनलाई पनि जानकारी दियो । अहिले के भएर चीनले नेपालको पुरानै नक्सा जारी गरेको हो भनेर सोध्ने र नेपालको नयाँ नक्साबारेमा बुझाउनुपर्छ,’ उनले भनिन्, ‘नेपालसँग जोडिएको कुनै पनि रणनीतिक विषयमा निर्णय गर्दा नेपाललाई पनि सोधेर त्रिपक्षीय निर्णय गर्नुपर्ने कुरा बताउनुपर्छ ।’ सन् २०१५ मा नेपाली भूमिका सम्बन्धमा भारत र चीन मिलेर निर्णय गरेको भन्दै उनले अब त्यस्तो नगर्न सजग गराउनुपर्ने बताइन् ।
दाहालले भारत भ्रमण गरेजस्तै चीन भ्रमण गर्न नहुने उनको भनाइ छ । भारत भ्रमणमा जाँदा नक्सा र ईपीजीको विषय उठाउँदा माहोल बिग्रन्छ भन्दै आएको उल्लेख गर्दै उनले चीन भ्रमणमा पनि त्यस्तो हीनताबोधपूर्ण काम नगर्न सुझाइन् । ‘चीनले यसरी नेपालको पुरानो नक्सा देखाउनुलाई हाम्रो कूटनीतिक कमजोरी मान्न सकिन्छ,’ उनले भनिन् ।
सत्तारूढ दल माओवादीका प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चीन भ्रमणमा प्रधानमन्त्रीले नयाँको विषय उठाउने बताए । पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भन्दै यसबारे प्रधानमन्त्री दाहालले कुरा राख्ने जानकारी गराए ।

‘किन समेटिएन, त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नॅपर्छ । त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको भन्ने छ,’ उनले भने । चुच्चे नक्साका विषयमा सरकार प्रस्ट हुनुपर्ने र जनतालाई पनि प्रस्ट पार्दै लैजानुपर्ने उनले बताए ।
प्रधानमन्त्री दाहाल असोज ५ देखि ९ सम्म चीन भ्रमणमा जाने गरी गृहकार्य भइरहेको छ । चीनले भदौ ११ मा आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले नेपालले चुच्चे नक्साको सम्बन्धमा सबैभन्दा पहिले बेइजिङमा रहेका नेपाली राजदूतलाई सक्रिय बनाउनुपर्ने र त्यसपछि यस सम्बन्धमा बुझ्नका लागि कूटनीतिक नोट पठाउनुपर्ने टिप्पणी गरे । प्रधानमन्त्री दाहालले चिनियाँ पक्षसँग नेपालको नयाँ नक्साका विषयमा बुझाउनुपर्ने उनको भनाइ छ । यस्तै, शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने बताए ।

 

मुख्य पृष्ठ

आँखा पाक्ने प्रकोप सामान्यतर्फ

- अतुल मिश्र

(काठमाडौं)
मुलुकभरि देखिएको आँखा पाक्ने रोग ‘भाइरल कन्जक्टिवाइटिस’को प्रकोप सामान्य हुँदै गएको छ । नेत्र रोग विशेषज्ञहरू यो संक्रमण भदौ मसान्त वा असोज पहिलो सातासम्ममा फाट्टफुट्ट रूपमा मात्रै रहने दाबी गर्छन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सुरु भएको आँखा पाक्ने संक्रमण पछिल्लो एक महिनामा देशभरि महामारीकै रूपमा विस्तार भएको थियो । आँखाको सेतो भाग सुन्निने र पाक्ने यो कन्जक्टिवाइटिसलाई आई फ्लुसमेत भनिन्छ । मुलुकका विभिन्न आँखा अस्पतालका बहिरंग विभागमा आएका कुल बिरामीमध्ये आँखा संक्रमितको संख्या पछिल्लो सातादेखि अधिकतम २० प्रतिशतमा झरेको तथ्यांक छ । कीर्तिपुर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. एरिक वैद्यले पनि आँखा पाक्ने संक्रमण दर दिनहुँ घट्दो क्रममा रहेको बताए । विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रक्षा पन्तका अनुसार हाल संक्रमित दर पहिलेको दाँजोमा करिब ८० प्रतिशत घटिसकेको छ । सम्भवतः असोजदेखि संक्रमण खासै नदेखिने उनको अनुमान छ ।
जनकपुरस्थित जानकी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.अमित यादवले संक्रमित दर बहिरंग विभागका कुल बिरामीमध्ये अधिकतम १० देखि १५ प्रतिशतमा सीमित भइसकेको बताए । सगरमाथा चौधरी आँखा अस्पताल, लहानका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सञ्जय सिंहले भने यो दर अझ ४ प्रतिशतमा पुगेको उल्लेख गरे ।
‘आँखा पाक्ने प्रकोप सामान्य अवस्थामा पुगेको देखिन्छ,’ गेटा आँखा अस्पताल, कैलालीका चिफ मेडिकल डाइरेक्टर डा.सुरेशराज पन्तले भने । उनले गेटामा आएका बिरामीमध्ये २ देखि ३ प्रतिशतमा मात्र भाइरल कन्जक्टिवाइटिस देखिएको जनाए । फत्तेवाल आँखा अस्पताल नेपालगन्जका चिफ मेडिकल डाइरेक्टर डा. देवराज भारतीले एक महिनाअघिसम्म
दिनहुँ एक सयदेखि एक सय ५० सम्म आँखाका संक्रमित आउने गरेकामा हाल ८–१० जना मात्र रहेको बताए ।

राष्ट्र्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा.रुना झाले देशभरका सातै प्रदेशका १६ साइटबाट संकलित १ सय ११ वटा आँखा संक्रमितको परीक्षण गर्दा ७३ जनामा एन्टेरोभाइरस देखिएको जनाइन् । नेत्र रोग विशेषज्ञका अनुसार आँखा पाक्दा यसले नानी (कोर्निया) मा समेत प्रभावित पारेको देखिएको छ ।
गेटाका चिफ मेडिकल डाइरेक्टर पन्त संक्रमितमध्ये ३ देखि ४ प्रतिशतमा आँखाको नानीमा असर परेको बताउँछन् । यस्तै जानकी आँखा अस्पतालका डा. यादव आँखा पाक्ने बिरामीमध्ये करिब ५ प्रतिशतका नानीमा असर देखिएको बताए । तर कीर्तिपुर आँखा अस्पतालका मेसु डा. वैद्यका अनुसार अत्यन्त न्यून केशमा मात्र कोर्नियामा असर परेको बताउँछन् ।
यो संक्रमण हुँदा आँखा मिच्न र पानी छ्याप्न नहुने भन्दै नेत्र विशेषज्ञहरू बरु आँखालाई सफा रुमालले सेक्न सुझाव दिन्छन् । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना आँखामा राख्ने औषधि जथाभावी प्रयोग गर्नु हुँदैन ।

 

Page 2
म्यागेजिन

दुर्गमका दुःख

स्वास्थ्य, शिक्षा र सडक
- महेश केसी,हरिराम उप्रेती

(रुकुम पूर्व/गोरखा) गत साउन २७ मा झमझम पानी परिरहेको थियो । साँघुरो र भिरालो चिप्लो बाटोमा देउखोलादेखि चार जनाले स्ट्रेचरमा बोकेर एक सुत्केरीलाई पाखापानीमा रहेको घरतर्फ लैजाँदै थिए । सुत्केरी र नवजात शिशु बोकेर एक दिन हिँडेपछि घर पुगिन्छ । देउखोलासम्म जसोतसो गाडीमा र त्यहाँबाट स्ट्रेचरमा बोकेर ल्याइएकी १७ वर्षीया सुत्केरी र शिशुलाई सात घण्टा बोकेर भट्टेचौरमा ल्याएर बिसाइयो । त्यसपछि घरसम्म पुग्न थप ३ घण्टा लाग्यो । नवजात शिशुका बुबा रानाजी बुढाले आफू १५ वर्षको हुँदा भागेर बिहे गरेको बताए ।
िसिस्नेको भट्टेचौरमा गत साउन २८ गते गर्भवती महिलाका लागि एक गैरसरकारी संस्थाले स्थानीय स्वास्थ्य संस्थासँगको सहकार्यमा ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) शिविर आयोजना गर्‍यो । शिविरमा चार महिनाकी एक गर्भवतीको जाँचपछि चिकित्सकले गह्रौं चिज नबोक्न र आफ्नो ख्याल गर्न सुझाए । ‘चामल नलगे क्या खाने त ?,’ उनले भनिन्, ‘यो त बाध्यता हो । यसो नगरे जिन्दगी चल्दैन ।’ भट्टेचौरबाट घर (ठूलो सिस्ने) तर्फ फर्किंदा उनले २५ किलो चामल बोकेरै फर्किइन् ।
कुम पूर्वको सिस्ने गाउँपालिका–१ सिस्ने पुग्दा देखिएका यी दुई घटना यहाँका प्रतिनिधिमूलक हुन् । ठूलो सिस्ने, पाखापानी, लाम्पाखा, ओख्रेना, भट्टेचौर र भंगलगायतका बस्ती मिलेर बनेको हिमालको फेदीमा रहेको साविक सिस्ने गाविस हाल गाउँपालिकाको वडा १ हो । यो वडामा विकासका आधारभूत पूर्वाधारसमेत नहुँदा स्थानीयको जनजीवनमा सुधार आउन सकेको छैन । बाटोघाटोकै समस्याले उनीहरू ज्यान जोखिममा राखेर उकाली–ओराली गर्न बाध्य छन् ।
बिरामी परेका बेला स्वास्थ्य संस्थाको साटो देवीदेउता र धामीझाँक्रीकहाँ पुग्ने चलन यहाँ अझै हटेको छैन । ‘हाम्रा लागि सजिलो गरी खाने–बस्ने सुविधा नाई अनि त हामीलाई देवताकै भर, भगवान्कै भर छ,’ भट्टेचौरका चमारे बुढाले भने, ‘हामी बिरामी पर्दा पहिला त देउता पुकार्छौं अनि मात्रै अस्पतालको बाटो लाग्छौं ।’ बुढाले बिरामी पर्दा खोला तरेर, पहाड काटेर जान कठिन हुने गरेको बताए । उमेर नपुग्दै बिहे गर्ने, सानै उमेरमा धेरै सन्तान जन्माउने यहाँको नियति नै बनेको उनले सुनाए ।
सिस्ने–१ पाखापानीमा सामुदायिक स्वास्थ्य इकाइ र भट्टेचौरमा स्वास्थ्य चौकी छ । स्वास्थ्य इकाइमा एक अहेबले सेवा दिइरहेका छन् । स्वास्थ्य चौकीमा सिनियर अहेबको नेतृत्वमा सात जना स्वास्थ्यकर्मी छन् । स्वास्थ्य चौकीका इन्चार्ज काशीराम वलीले समयमै स्वास्थ्य संस्था पुग्नुपर्छ भन्ने चेतना नहुँदा समस्या हुने गरेको बताए । ढिलो गरी आउँदा गत साउन २० गते लाम्पाखाकी एक सुत्केरी र नवजात शिशुको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको उनले सुनाए । तीन सन्तानकी आमा २५ वर्षीया सपना बुढा चौथो सन्तान जन्माउने क्रममा सुत्केरी व्यथा लागेको लामो समयसम्म स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्न सकिनन् । भोलिपल्ट हेलिकोप्टर बोलाएर सुर्खेत लैजाँदा उनको बाटोमै ज्यान गयो । ‘त्यो दिन आमा र बच्चाको ज्यान जोगाउन निकै प्रयास गर्‍यौं,’ स्वास्थ्य चौकी इन्चार्ज वलीले भने, ‘अघिल्लो दिन अबेर भएकाले हेलिकोप्टर आउन सकेन । भोलिपल्ट ९ बजे हेलिकोप्टर आए पनि सुर्खेत नपुग्दै बाटैमा आमा र शिशुको ज्यान गयो ।’
बिरामी हुनेबित्तिकै अस्पताल पुग्नुपर्छ भन्ने चेतना नहुनु यहाँको प्रमुख स्वास्थ्य चुनौती रहेको यो भेगमा जनस्वास्थ्य सुधारका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था सर्वांगीण विकास केन्द्र (एचडीसी) का कार्यकारी निर्देशक लीलामणि गौतमले बताए । ‘स्थानीय अहिले पनि धामीझाँक्रीमा विश्वास गर्छन् । केही उपाय नलागेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्नाले स्वास्थ्य जोखिम बढेको छ,’ उनले भने ।
उमेर नपुगी विवाह तथा सुत्केरीसमेत हुँदा यहाँ आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ । यहाँ १४–१५ वर्षकै उमेरमा विवाह गर्ने परम्पराजस्तै छ । बाटोघाटोकै समस्याले सामान्य अवस्थामा उपचारका लागि जान सम्भव नहुने स्थानीयको भनाइ छ । ‘खोला–नाला तरेर स्वास्थ्य संस्था पुग्नुपर्छ । बर्खामा त झन् धरै गाह्रो हुन्छ,’ ओख्रेनाकी महिला स्वास्थ्य स्वयंसेविका तुली बुढाले भनिन्, ‘यहाँ उपचार सम्भव नहुँदा जिल्ला अस्पतालसम्म पुग्नुपर्छ । बाटोघाटो गतिलो छैन । यसकारण निकै समस्या हुने गरेको छ ।’ सिस्नेबाट जिल्ला अस्पताल रहेको सदरमुकाम रुकुमकोट पुग्न पुथाउत्तरगंगा गाउँपालिका–१४ देउखोलासम्म हिँड्नुपर्ने ठूलो सिस्नेकी खिमकुमारी बुढाले बताइन् । ‘त्यसपछि गाडी त भेटिन्छ तर बीच–बीचमा पहिरोले तीन वटा सवारीसाधन फेरेपछि बल्ल पुगिन्छ,’ उनले भनिन्, ‘साँघुरो बाटोमा कतै चिप्लो त कतै भिरालो अनि कति ठाउँमा त माथिबाट ढुंगा खस्ने जोखिम हुन्छ । यस्तो बाटोमा स्ट्रेचरमा बिरामी बोकेर लैजानुपर्ने हुन्छ ।’
स्थानीय स्वास्थ्य चौकीमा आधारभूत स्वास्थ्य सेवा र सामान्य प्रसूति सेवा उपलब्ध रहेको इन्चार्ज वलीले बताए । यसबाहेक स्वास्थ्यकर्मीलाई तालिम दिएर कम्तीमा भिडियो एक्स–रे सेवासम्म सञ्चालन गर्न सके गर्भवती आमा र बच्चाको ज्यान जोगिन सक्ने उनको भनाइ छ । सिस्ने–१ का वडाध्यक्ष रजबहादुर बुढाले विद्युतीकरण गर्नेबित्तिकै गाउँपालिकामार्फत स्वास्थ्य संस्थाको क्षमता विकासमा लाग्ने बताए । ‘सकेको गरिरहेका छौं । हामीले मात्रै गरेर पुग्ने देखिएन,’ उनले भने, ‘प्रदेश र संघ सरकारले पनि सिस्नेजस्ता दुर्गम भेगमा विकासका लागि विशेष ध्यान दिन जरुरी छ ।’
िि
िसाविकको सिस्ने गाविसका ६ वटै बस्तीलाई समेटेर गाउँपालिकाको वडा १ बनाइएको हो । यो वडामा करिब ४ सय घर–परिवार छन् । जिल्ला सदरमुकाम रुकुमबोटबाट यहाँ पुग्न रुकुम पूर्वका बाँकी दुई भुमे र पुथाउत्तरगंगा गाउँपालिका हुँदै जानुपर्छ । सिस्ने भट्टेचौरका बलिराम बुढाले जिल्ला सदरमुकाम पुग्न दिनभर हिँडेर गाडी चढ्न पाएमात्रै मुस्किलले पुगिने बताए । ‘पूरा दिन हिँडेपछि गाडी चढ्ने ठाउँ देउखोलासम्म पुगिन्छ,’ उनले भने, ‘साधन पाए त्यही दिन, नपाए त्यहीं बास बसेर भोलिपल्ट सदरमुकाम रुकुमकोट पुगिन्छ ।’ रुकुमकोटबाट भुमे–५ बालुवा हुँदै पुथाउत्तरगंगा–१४ देउखोलासम्म तीनवटा गाडी फेरेर पुगेपछि त्यहाँबाट पैदल हिँड्नुपर्छ । देउखोलाबाट सिस्ने–२ नायगाढसम्म पुग्न निकै भिरालो बाटो हिँड्नुपर्ने भएकाले माथिबाट ढुंगा खस्ने जोखिमसमेत हुने ठूलो सिस्नेकी धनमाया बुढाले बताइन् ।
भुमेको बालुवादेखि पुथाउत्तरगंगाको देउखोलासम्म १०.८ किलोमिटर सडक कालोपत्र छ । सिस्नेतर्फ सडक पुर्‍याउन देउखोलाबाट सडक अघि बढ्न जरुरी छ । तर, देउखोलादेखि पुथाउत्तरगंगाको त्रिवेणीसम्मको ११.६ किलोमिटर सडक निर्माणको काम अलपत्र छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुकुम पश्चिमका इन्जिनियर रामआशिष शाहका अनुसार यो खण्डमा शंकरमाली निर्माण सेवाले ०७५ जेठ २६ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले म्याद थपेर गत जेठ ११ मा कालोपत्रसहितको सडक बनाउनुपर्ने सम्झौता भए पनि कामै सुरु नभएर ठेक्का अवधि सकिएको छ । अब उक्त कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रियामा रहेको शाहले बताए । यही सडकलाई सानीभेरीमा पुल बनाएर सिस्ने–२ नायगाढ हुँदै सिस्ने गाउँतर्फ लैजाने योजना हो । बीचमा सडक नबन्दा सिस्नेका बासिन्दाका लागि सडक सुविधा पुग्न ढिलाइ भइरहेको वडाध्यक्ष बुढाले बताए । ‘दुई वर्षअघि तकसेरा तर्फबाट डोजर ल्याएर कोलडाँडानिरबाट सानीभेरी तारेर सुर्दीसम्म करिब १० किलोमिटरमा ट्र्याक त खोलियो तर यो लामो र कठिन भएकाले अघि बढेन,’ उनले भने, ‘देउखोलाको पहरा काटेर सानीभेरीमा पुल नबनाएसम्म हाम्रो वडामा सडक पुग्ने कुनै सम्भावना छैन ।’
छरिएको बस्ती भएका कारण स्थानीय बालबालिकालाई पढ्न पनि दुःखै छन् । वडाभरिमा बालविकास एउटा, आधारभूत विद्यालय तीन र माध्यमिक विद्यालय दुईवटा छन् । मावि तह पढ्न जाँदा बीचबीचमा खोला तर्नुपर्ने भएकाले बर्खाका बेला बालबालिकालाई एक्लै पठाउन समस्या हुने ठूलो सिस्नेका बखतबहादुर बुढा बताउँछन् । सात कक्षामाथि २ घण्टा हिँडेर पाखापानी पुग्न बाटोमा खोलाको डर हुने उनले बताए । १० कक्षाभन्दा माथि पढ्न छिमेकी नायगाढ वा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको वडाध्यक्ष बुढाले बताए । ‘यसरी घरबाहिर बसेर पढाउन सक्ने यहाँका जनताको आर्थिक हैसियत छैन,’ उनले भने, ‘यसकारण यहाँका धेरै विद्यार्थीको पढाइ बीचैमा छुट्छ ।’ नेपाल टेलिकमले टेलिफोन र फोरजी सेवा उपलब्ध गराए पनि विद्युत् नपुग्दा एकातिर सञ्चार सेवा पनि नियमित हुन सकिरहेको छैन भने अर्कोतिर स्थानीय सोलार र टुकीको वैकल्पिक व्यवस्था गरेर उज्यालोको जोहो गरिरहेका छन् ।

म्यागेजिन

चुमनुव्रीको सडक सपना

- कान्तिपुर संवाददाता


चट्टाने भीर छिचोल्दै जगतसम्म ट्र्याक्टर र ट्रक चल्न थालेपछि गोरखाको चुमनुव्री गाउँपालिका–३ घट्टेखोलाका बुद्धिराज गुरुङको पैदल दूरी मात्र छोट्टिएको छैन, अत्यावश्यक वस्तु ढुवानी पनि सहज बनेको छ । उनलाई यति चाँडै अजंगका पहाड छिचोल्दै गाउँमा मोटरबाटो पुग्ला भन्ने लागेकै थिएन । गएको हिउँदमा नाक्चेतमा जिप पुगेपछि उनी खुसी बनेका हुन् । ‘बाटो आउँदै छ रे भनेर सुन्दा भिरबाटो कसरी छिचोल्लाजस्तो लागिरहन्थ्यो,’ उनले भने, ‘गत हिउँदमा त गाडी नै आइपुग्यो ।’ गाउँसम्म नियमित गाडी चले यस क्षेत्रका बासिन्दाको आधा दुःख घट्ने बुद्धिराज बताउँछन् । ‘मोटर चढ्नकै लागि आरुघाट पुग्नुपर्थ्यो, एक बोरा चामल ल्याउनुपरे खच्चडलाई बोकाउनुपर्थ्यो, नत्र आफैं नबोकी सुखै थिएन,’ उनले भने, ‘रित्तै दुई दिन लाग्ने बाटोमा यतिका वर्ष भारी बोकेर हिँड्नुपर्दा थुप्रै दुःख भोगियो ।’
बेनीघाट–आरुघाट–लार्के सडकको ट्र्याक खुलेसँगै गत हिउँदबाट चुमनुव्री–३ नाग्चेतसम्म जिप चल्न थालेपछि उत्तरी क्षेत्रका बासिन्दाको एक दिनको पैदल दूरी छोट्टिएको हो । एक वर्षअघिसम्म यहाँका बासिन्दा माछाखोलाबाट सिर्दिबासको फिलिमसम्म मुस्किलले एक दिन हिँडेर पुग्थे । हिउँदमा सवारी चल्दा चारदेखि पाँच घण्टामा जिपबाट नाग्चेत नै आइपुग्ने बुद्धिराज बताउँछन् । सडक विस्तार भएसँगै हिउँदको समयमा खच्चडको ढुवानी भाडामा पनि स्थानीयले सहुलियत पाएका छन् । माछाखोलाबाट दोभानसम्म खच्चडमा बोकाए प्रतिकेजी १० रुपैयाँ भाडाबापत तिर्नुपर्ने स्थानीयलाई गाडीमा माछाखोलाबाट दोभानसम्म दुईदेखि तीन रुपैयाँमा उपभोग्य सामग्री बोक्छन् ।
लार्के सडकको ट्र्याक खुलेसँगै गत हिउँदबाट चुमनुव्री गाउँपालिका पनि सडक सञ्जालले जोडिएको हो । ०७४ मा हावाडाँडाबाट काम सुरु गरेको नेपाली सेनाले ३५.५ किलोमिटर सडकको ट्र्याक खोलेको छ । हाल चुमनुव्री–३ को पाङसिङ खण्डमा सेनाले विस्फोटक पदार्थको सहायताबाट ट्र्याक निर्माण गरेको छ । चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिम वारि नाग्चेतसम्मको सडकमा भने गत हिउँदबाट सवारी नै पुगेका छन् । सडकको ट्र्याक खुल्दा हिउँदका बेला निकै सहज बनेको चुमनुव्री–३ चिसापानीका कान्छा गुरुङले बताए । बर्खा लागेसँगै हाल भने उक्त सडक अवरुद्ध छ ।
धार्चे गाउँपालिका–७ न्याउली खोलाबाट सवारी कट्न
सकेका छैनन् ।
बेनिघाटबाट लार्के भन्ज्याङसम्मको सडकको लम्बाइ भने १ सय ५४ किलोमिटर छ । उक्त सडकअन्तर्गत सेनाले जिम्मा पाएको हावाडाँडाबाट लार्के भन्ज्याङसम्मको ९२ किलोमटिर सडकको ट्र्याक आर्थिक वर्ष २०८४/८५ सम्म खोल्ने लक्ष्य छ । बेनीघाट–आरुघाट–लार्के भन्ज्याङअन्तर्गत हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक निर्माणको ट्र्याक खोलेर सेनाले अघिल्लो वर्ष सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । हाल सेनाले दोभानबाट पाङसिङ खण्डमा सडक चौडा बनाउनेलगायत स्तरोन्नतिको काम गरिरहेको छ । चालु आर्थिक वर्षमा उक्त सडकका लागि १० करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ । पाङसिङबाट न्याकफेदीसम्म चालु आर्थिक वर्ष सडकको नयाँ ट्र्याक खोल्ने योजनाअनुसार काम भइरहेको सेनाको सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले बताए । ‘हालसम्म ३५.५ किलोमिटर ट्र्याक खोलिसक्यौं,’ उनले भने, ‘यस वर्ष न्याक फेदीतर्फ दुईदेखि तीन किलोमिटर नयाँ ट्र्याक खोल्ने र ट्र्याक खोलेको ठाउँको स्तरोन्नति गर्ने योजनाअनुसार काम अघि बढेको छ ।’
पाङसिङबाट न्याकफेदीसम्म कडा चट्टान रहेकाले विस्फोटक पदार्थको सहायताले सडकको ट्र्याक खोल्ने काम भइरहेको सेनाले जनाएको छ । पृथ्वीराजमार्गसँग जोडिएको बेनीघाटदेखि आरुघाट हुँदै लोर्के भन्ज्याङ सडक जोड्ने योजनाअन्तर्गत सेनाले हावाडाँडाबाट काम सुरु गरेको हो । उक्त सडक खोलेर तिब्बत सीमा क्षेत्रको रुइला नाका जोडिए तिब्बती बजारबाट उपभोग्य सामग्री ल्याउन पनि सहज हुने स्थानीयको अपेक्षा छ । सडक सञ्जाल विस्तार नहुँदा चीन सीमा क्षेत्रको चुमनुव्री–१ को सामागाउँबाट गाउँपालिका केन्द्र पुग्न कम्तीमा दुई दिन हिँड्नुपर्छ ।
हाल सेनाले खोलिरहेको बेनिघाट–आरुघाट–लार्के सडकको ट्र्याक नुव्री क्षेत्रअन्तर्गतको सिर्दिबास, प्रोक, ल्हो हुँदै सामागाउँसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । चुम उपत्यकाअन्तर्गत सिर्दिबासबाट– चुम्चेत–छेकम्पार हुँदै ङुइला नाकासम्मको सडकको ट्र्याक खोल्ने जिम्मा पनि सेनालाई दिन प्रधानमन्त्रीसमक्ष माग राखिएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । सिर्दिबास– चुम्चेत–छेकम्पार (चुमभ्याली)–ङुइला भन्ज्याङ नाका जोड्ने सडक आयोजनाका लागि पहिलो पटक चालु आर्थिक वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ५० लाख बजेट
छुट्याइएको छ । ‘यो क्षेत्रमा कडा चट्टान छन्, त्यसैले सर्भेदेखिकै काम सेनामार्फत अघि बढे सहज हुन्छ भनेर माग राखेका हौं,’ लामाले भने ।
सडक सञ्जाल विस्तार नहुँदा हाल यो क्षेत्रमा दैनिक उपभोग्य सामग्री खच्चडमार्फत पुर्‍याउने गरिन्छ । धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म सवारीबाट पुगेका उपभोग्य सामग्री कम्तीमा दुई दिन लगाएर खच्चडमार्फत छेकम्पार पुर्‍याउनुपर्ने बाध्यता छ । सडक सञ्जालले नजोडेको उत्तरी गोरखामा उपचारका लागि हेलिकोप्टरको भर छ । आकस्मिक रूपमा बिरामी भए डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गरेर हेलिकोप्टर चार्टर गरेर काठमाडौं जाने गर्छन् ।

 

Page 3
समाचार

बीआरआईको 'परियोजना कार्यान्वयनयोजना’ सम्झौताको गृहकार्य

- जगदीश्वर पाण्डे

(काठमाडौं)
नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन भए/नभएको अन्योल भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा यसको ‘परियोजना कार्यान्वयन योजना’ सम्झौता हुने गरी गृहकार्य थालिएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेको ६ वर्षपछि परियोजना कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्न लागेको हो । प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन पुग्ने गरी भ्रमणको गृहकार्य भइरहेको छ । ‘प्रधानमन्त्रीज्यूको चीन भ्रमणको दौरान बीआरआई परियोजना कार्यान्वयन योजनाको सम्झौता हुने गरी गृहकार्य भइरहेको छ । सम्भवतः यस पटक त्यो सम्झौता हुन्छ । त्यसपछि नेपालमा बीआरआईअन्तर्गतका परियोजना चयन गरेर कार्यान्वयनमा जान सकिन्छ,’ परराष्ट्रका एक उच्च अधिकारीले बताए ।
नेपाल र चीनबीच सन् २०१७ मेमा बीआरआईको साझेदारी पक्षमा हस्ताक्षर भएको थियो । राष्ट्रपति सी चिनफिङ शक्तिमा आएपछि सन् २०१३ बाट चीनले वान बेल्ट वान रोड (ओबिओआर) लाई अघि सारेको थियो । चिनियाँ लगानीमा विश्वलाई जमिन र समुद्री मार्गमार्फत जोड्ने गरी अघि सारिएको उक्त परियोजनालाई सन् २०१५ बाट बीआरआई नाम दिइएको हो । त्यसपछि सडक सञ्जालका साथै पूर्वाधारहरूको विकास निर्माण र अन्य क्षेत्रहरूलाई पनि समेटिएको थियो । सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बीआरआई परियोजनाअन्तर्गत नेपालले सुरुवातमा ३५ वटा परियोजनाको सूची पठाएको थियो । पछि चीनकै अनुरोधमा ९ वटा परियोजनामा झारेर पठाइयो । सरकारी अधिकारीका अनुसार ती परियोजनाहरूमा रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथांका–लिने सडक निर्माण, दिपायलबाट चिनियाँ नाकासम्मको सडक, टोखा–विदुर सडक (टनेलसहित), गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन, केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन, तमोर हाइड्रो परियोजना (७६२ केभी), फुकोट कर्णाली हाइड्रो परियोजना (४२६ केभी) र मदन भण्डारी विश्वविद्यालय हुन् ।
उक्त परियोजना नेपाल सरकारले चीनसमक्ष पेस गरे पनि बीआरआईअन्तर्गत काम नभएपछि ती परियोजनाहरू फरक रूपमा अगाडि बढाइएको छ । कुनै परियोजनाको द्विपक्षीय रूपमा काम भइरहेको छ भने कुनै भारतलाई निर्माण गर्ने जिम्मा दिइएको छ । केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन चिनियाँ प्राविधिक टोलीले गरिरहेको छ भने फुकोट कर्णाली हाइड्रो परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइनलाई परिमार्जन गरेर २२० केभीमा झार्दै द्विपक्षीय रूपमा अघि बढाइने गृहकार्य भइरहेको छ । लगानी बोर्डको ५५ औं बैठकले तमोर हाइड्रो परियोजना कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन गरी अध्ययन गर्न दुई महिना समय दिएको छ ।
नेपालले चीनसँग बीआरआई सम्झौता गरे पनि सोअन्तर्गत परियोजना कार्यान्वयन योजनाको सम्झौता भने हालसम्म गर्न सकेको छैन । चिनियाँ पक्षले भने नेपालमा बीआरआईअन्तर्गत परियोजनाको सुरुवात भइरहेको पटक–पटक जनाउँदै आएको छ । गत असार ६ मा चीनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत निर्माण भएको दोहोर्‍यायो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि बीआरआई परियोजनाअन्तर्गत भएको दाबी गरे ।
यसअघि २०७९ पुसमा विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको’ बताएका थिए । जबकि नेपाली पक्षले बीआरआईअन्तर्गत कुनै पनि परियोजनामा सम्झौता नभएको दाबी गर्दै आएको छ । विमानस्थल उद्घाटनको अघिल्लो दिन काठमाडौंस्थित चिनियाँ दूतावासले पनि वक्तव्य जारी गर्दै पोखरा विमानस्थल बीआरआईअन्तर्गत रहेको दाबी गरेको थियो । ‘यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो,’ दूतावासले भनेको थियो ।
असारमा सोही स्थानमा पुगेर राजदूत छनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको उल्लेख गरे । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको हो । अन्ततः हामीले पोखराबाट अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौं, यो बीआरआई परियोजनाअन्तर्गतको हो,’ उनले भनेका थिए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्राधिकरणले २०७२ सालमा चीन सरकार र एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण नेपाल सरकारमार्फत लिएको थियो । जसमा एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन निर्ब्याजी र १ अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने सर्तमा गरी १ अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौता गर्दै नेपाल सरकारले प्राधिकरणलाई ५ प्रतिशत ब्याजदरमा (सहायक ऋण) उपलब्ध गराएको थियो ।
तर सरकारले भने पटक–पटक नेपालमा बीआरआईअन्तर्गतको कुनै पनि कार्यक्रम लागू नभइसकेको बताएका छन् । असारको दोस्रो साता संसद्लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा बीआरआईअन्तर्गत कुनै पनि परियोजना कार्यान्वयन नभएको बताएका थिए । नेपालमा बीआरआई कार्यान्वयनका लागि परियोजना कार्यान्वयन योजना सम्झौता गर्ने विषयमा यसअघि पनि नेपाल र चीनबीच छलफल भएको थियो । २०७८ को चैतमा नेपाल भ्रमणका दौरान चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त सम्झौता गर्ने प्रस्ताव नेपाललाई राखेका थिए । त्यस बेलाको शेरबहादुर देउवाको सरकारले बीआरआईअन्तर्गत नेपालले अनुदान र सहुलियत ऋणमात्र लिने तर कमर्सियल ऋण नलिने भन्दै सम्झौतामा हस्ताक्षर गरेन ।
फेरि आएर प्रधानमन्त्री दाहालको चीन भ्रमणका दौरानमा नेपाली पक्षले चिनियाँ पक्षसँग सहकार्य गरेर उक्त प्रस्तावलाई अघि बढाउन लागेको हो । यस सम्बन्धमा गत मंगलबार परराष्ट्रमन्त्री साउदले चिनियाँ राजदूत छनसँग मन्त्रालयमा भेटवार्ता गरेर छलफलसमेत गरिरहेका छन् । पूर्वपरराष्ट्रमन्त्री तथा चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे नेपाल र चीनले हालसम्म परियोजना कार्यान्वयन योजना सम्झौता किन नभएको भन्नेबारेमा आफूलाई थाहा नभएको उल्लेख गर्दै अब यो छिटोभन्दा छिटो गर्नुपर्ने बताउँछन् । ‘नेपालले अध्ययन गरेर बीआरआईअन्तर्गत नेपालका हितमा के–के परियोजना उपयुक्त हुन्छन्, त्यसलाई टुंगो लगाउने र सम्बन्धित पक्षसँग कुरा गरेर निष्कर्षमा पुग्नु उचित हुन्छ । त्यसका लागि परियोजना कार्यान्वयन योजना सम्झौतामा सबैभन्दा पहिला हस्ताक्षर गर्न जरुरी हुन्छ,’ उनले भने । पाण्डेले प्रधानमन्त्रीको भ्रमणमा कुनै सूची लिएर जानेभन्दा पनि दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउनु महत्त्वपूर्ण भएको उल्लेख गरे । ‘दुई मुलुकका नेताहरू बसेर कुराकानी गरेपछि मात्र परियोजनाका कुरा गर्ने हुन्,’ उनको भनाइ थियो ।
चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले परियोजना कार्यान्वयन योजना सम्झौता महत्त्वपूर्ण पक्ष भएकाले यस सम्बन्धमा परराष्ट्रमन्त्री साउदले बोलाएर सुझाव माग्दासमेत सल्लाह दिएको जानकारी दिए । ‘बीआरआई त्यसमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा परस्पर विरोधी कुरा आयो । चिनियाँहरूले बीआरआईअन्तर्गतको भन्यो भने हाम्रो परराष्ट्र मन्त्रालयले बीआरआई लागू भएको छैन भनेको छ,’ उनले भने, ‘यस्तो कुरामा हामी प्रस्ट हुनुपर्छ । दुई मित्र राष्ट्रहरूबीचमा यस्तो अमिल्दो कुराकानी भइरहेको छ । त्यो हुनु हुँदैन ।’ उनले अब परियोजना कार्यान्वयन योजना सम्झौता गरेर परियोजना छनोट र मोडालिटीका बारेमा संवाद गर्नुपर्ने बताए ।

समाचार

दलित महिला सांसद बोल्छन्, सुनुवाइ हुँदैन

- मधु शाही

(काठमाडौं)
विद्यार्थी जीवनमा राजनीति गर्दा सीता मिजारलाई लाग्थ्यो, ‘सबैको साथले अघि बढेकी छु ।’ आन्दोलनका क्रममा होस् या कुनै काममा– सबैले ‘बहिनी अघि बढ्नू’ भन्दै थपथपाउँथे । साथ र हात दिन्थे । उनको राजनीतिक संघर्षले संसद्सम्म पुर्‍यायो । जब उनी संसद् पसिन्, त्यहाँ उनले आफू एक्लै भएको महसुस गरिन् । जब विभेदविरुद्ध आवाज उठाउनुपर्छ, त्यतिबेला सीता एक्लै पर्छिन् । ‘साझा मुद्दामा जति जोडदार कुरा उठ्छ, दलित, महिला र पिछडा वर्गको मुद्दामा एकीकृत आवाज आउँदैन,’ उनले भनिन्, ‘एक्लै करायो, दक्षिणा हरायोजस्तै हुन्छ ।’
प्रतिनिधिसभा सदस्य सीता दलितका माग संस्थागत गर्न राजनीतिक दलदेखि सदनसम्मै भकुन्डो हुनुपर्ने अवस्था आएको बताउँछिन् । ‘संसद् र पार्टीभित्र म भकुन्डोजस्तै बनेकी छु,’ उनले भनिन्, ‘जति वैचारिक हिसाबले दबाउन खोजिन्छ, उति उफ्रिन्छु ।’ राजधानीमा दलित महिला संघ (फेडो) ले हालै आयोजना गरेको दलित महिला सांसदको अनुभव आदानप्रदान कार्यक्रममा आफ्ना गुनासा पोखिरहँदा धेरैले यसको यथार्थ आत्मसात् गरेको उनले बताइन् । विद्यार्थी राजनीति गर्दै नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी उनी संसद्मा आफ्नो मत निर्धक्कसँग राख्न सक्ने सक्षम सांसद्मा गनिन्छिन् । यद्यपि, अहिले आफूले विभेदका आधुनिक रूप खेपिरहेको उनको अनुभव छ । ‘पार्टी राजनीतिमा जति माया र दयाले फुर्काइन्थ्यो, सांसद भएपछि झन् एक्लोपन महसुस गर्नुपरेको छ,’ उनले सुनाइन्, ‘जब नीति र विधि बसाल्ने कुरा आउँछ, दलितका प्रश्न गौण हुँदा रहेछन् ।’ जातीय विभेदलाई किन दुर्व्यवहारमा दर्ता गरिन्छ र जातीय विभेद सामान्यीकरण गर्नुको कारण के होला भनेर संसदीय समिति र पार्टीभित्रै कुरा उठाउँदा पनि कसैले ध्यान नदिएको उनले गुनासो सुनाइन् ।
गृह मन्त्रालयले दलित सेल गठन गरेको छ । तर, केन्द्रदेखि प्रदेशसम्म गठित त्यस्ता सेल प्रमुखमा स्वयं दलित नगण्य छन् । संसदीय दलकै बैठकमा सीताले यी कुरा उठाउँदा कुनै पनि जिम्मेवार नेताले जवाफ नदिएको उनले गुनासो पोखिन् । आफ्नै पार्टीको निर्वाचन घोषणापत्रमा ‘दलितसँग सरकार’ भनेर लेखियो तर कार्यान्वयन भएन । सीताले दलितका विषयमा मुद्दा उठाउँदा पार्टी र सांसदबाटै ‘बढी दलितवादी नहुनू’ भनेर उल्टै सुझाउँदा दुःख लागेको उनले बताइन् । ‘दलितले बोल्दा मानवताको पक्षमा बोलेको हो भनेर स्विकार्नै मुस्किल छ अरूलाई,’ उनले भनिन्, ‘जब जातिका कुरा राख्दा एक्लै भइन्छ, तब संसद्भित्रै विभेद भएको महसुस गर्छु ।’
सांसद हर्कमाया विश्वकर्माले जेठ २१ लाई विभेदविरुद्धको दलित दिवसका रूपमा मनाउन माग राखेकी छन् । ‘व्यवस्था परिवर्तन भयो तर दलित समुदायको अवस्थामा कुनै परिवर्तन आएन,’ गत जेठ १० मा प्रतिनिधिसभामा विशेष समय लिएर उनले मर्मस्पर्शी कविता नै सुनाइन्, ‘सरकार ! यो देशका ७० लाख दलितलाई मान्छे भएर आत्मसम्मानका साथ बाँच्न देऊ ।’ महिला, आदिवासी जनजाति, अपांगतालगायत विभिन्न दिवस मनाइरहँदा छुवाछूतविरुद्ध तथा जातीय विभेद हटाउने संवैधानिक मर्मअनुसार जेठ २१ गतेलाई राष्ट्रिय दलित दिवस मनाउन र स्थानीय तहसम्म विभेद निर्मूलका बजेट लैजान माग गरिन् । अझ स्थानीय तहदेखि नै दलित निगरानी केन्द्र स्थापना गर्नुपर्ने उनको विचार थियो । संसद्मा दलितका मुद्दा जति राखिए पनि सुन्ने र सुनाउने मात्रैमा सीमित भइरहेको उनको गुनासो छ । ‘हामीले बोलेका कुरा सुनिँदैनन्,’ उनले भनिन्, ‘विकृति हटाउन नीति नै स्पष्ट छैन । दलितका
मुद्दामा अन्य समुदायसमेत एकमत नभएसम्म समस्या समाधान गर्न गाह्रो छ ।’
यति मात्रै होइन, बल्लतल्ल संसद्मा हिम्मत जुटाएर दलितका विषयमा बोले पनि सांसदहरूले नै गाइँगुइँ गर्न थाल्ने उनको अनुभव छ । ‘कति दलितको मात्रै कुरा गर्नुहुन्छ माननीयज्यू भनेर पनि खिसिट्युरी गर्छन्,’ हर्कमायाले भनिन्, ‘त्यस्तो भन्ने सांसदको नाम त नभनौं तर यस्तो सुन्दा साह्रै मन पोल्छ ।’ आफ्नो पार्टी र निकटका सांसदलाई दलितका विषयमा बोलिदिन अनुरोध गर्न थालेको धेरै भइसकेको उनले सुनाइन् । ‘मुन्टो हल्लाएर मेरा कुरामा समर्थन त जनाउनुहुन्छ,’ उनले भनिन्, ‘तर निर्धक्क छाती फुलाएर बोलिदिनु हुन्न ।’ दलितका मुद्दा साझा नहुँदासम्म संसद्मा ती कुराको सुनुवाइ नहुने पनि आफूले अनुभव गरेको उनले सुनाइन् ।
सांसद् रुक्मणी राना बराइली पनि संसद्भित्र अपनत्व महसुस गर्नै नसकेको बताउँछिन् । अरू समुदायका भन्दा दलितका मुद्दा फरक रहेको उनको अनुभव छ । सांसद भएपछि कुनै जाति विशेषको नभई समग्र समुदायको प्रतिनिधि हो भनी बुझाइए पनि समग्र दलित समुदायको मुद्दा आउँदा अन्य समुदायका व्यक्ति मौनजस्तै बस्दा आफ्नो मन अमिलो हुने उनले सुनाइन् । ‘हामीले सबैका मुद्दा आफ्ना मान्यौं,’ उनले भनिन्, ‘हाम्रा मुद्दा भने अरूका हुन सकेनन् ।’ उनका अनुसार दलित महिलाका मुद्दा त झनै ओझेलमा छन् । पार्टीभित्र होस् या संसदीय समितिका बैठकमा दलित महिला सधैं पिँधमा पर्नुपरेको उनी बताउँछिन् ।
त्यस्तै, नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी बाँकेकी आशा विकले दलित र महिलाका मुद्दा बुझाउन पार्टीदेखि नै संघर्ष गर्नुपर्ने बताइन् । ‘पहिलो कुरा त, दलित महिलाका कुरा सुन्नै चाहँदैनन्,’ उनले भनिन्, ‘मुद्दा र विषय उठानमा सबैले पार्टीभित्रै अडान लिन जरुरी छ ।’
प्रतिनिधिसभामा कुल महिला सांसद ९२ जनामध्ये दलितबाट ८ जना छन् । जसमध्ये माओवादीबाट सुशीला सिर्पाली ठकुरी एकमात्र राज्यमन्त्री हुन् । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव पेस गर्ने व्यवस्था छ । पूर्वसांसद अन्जना विसुंखेले दलित महिलाका विषयमा मुद्दा अभाव देखेपछि प्रतिनिधिसभामा ११ बुँदासहित संकल्प प्रस्ताव अनुमतिका लागि ड्राफ्ट नै बनाएकी थिइन् । आफ्नै संयोजकत्वमा ६२ सांसदको हस्ताक्षरसमेत लिएकी उनले कोभिड महामारी र संविधान विघटनजस्ता परिस्थितिले प्रस्ताव पारित हुन नपाएको अनुभव सुनाइन् । दलितको मुद्दा सुनुवाइ गर्न संकल्प प्रस्ताव नै अघि बढाएर लानुपर्ने उनको बुझाइ छ । ‘संकल्प प्रस्तावले सरकारलाई प्रस्ताव कार्यान्वयन गराउन बाध्य गराउँछ,’ उनले भनिन्, ‘नत्र भने संसद्मा कुरा सुनिन्छ, सरकारको प्रतिउत्तर आउँछ तर प्रभावकारिता कम हुन्छ ।’ संसद्मा दलितका कुरा गैरदलितले बोल्ने, पुरुषका कुरा महिलाले बोल्ने र महिलाका कुरा पुरुषले उठाउने अभ्यास नहुनु विभाजित मानसिकताको उपज रहेको उनको तर्क छ ।
हालको संसद्ले संकल्प प्रस्तावका रूपमा दलितसम्बन्धी विषय हेर्न संसदीय समितिले सरकारलाई छुट्टै मन्त्रालय तोक्न निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले दलितसम्बन्धी विषय हेर्नका लागि छुट्टै मन्त्रालय तोक्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई निर्देशन दिएको छ । समितिले दलितसम्बन्धी विषय हेर्नका लागि कुनै मन्त्रालय नभएकाले समस्या देखिएको जनाएको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिने क्रममा समितिले दलितसम्बन्धी विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न भनेको छ ।
डिग्निटी इनिसिएटिभको हालैको अनुसन्धानअनुसार संसद्मा दलित समुदायको प्रतिनिधित्व ओरालो लाग्दो अवस्थामा छ । आवाजविहीनहरूको आवाज उठाउने थलो संसद् रहेको र त्यहाँ सीमान्तकृत दलितको उपस्थिति गौण हुनुले समानताको पक्षमा बोल्ने बल कम देखिएको हो । त्यसमा पनि दलित महिला सांसद कुहिरोमा हराएको कागजस्तै अवस्थामा रहेको डिग्निटी इनिसिएटिभको दाबी छ ।
जनगणना २०६८ अनुसार समग्र महिलाको जनसंख्यामध्ये दलित महिलाको संख्या १३.८ प्रतिशत मात्रै रहेको तथ्यांक थियो । २०६४ मा सम्पन्न पहिलो संविधानसभामा निर्वाचित ६ सय १ संविधानसभा सदस्यमध्ये ५० जना दलित प्रतिनिधि थिए । ०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा दलित प्रतिनिधित्व घटेर ४० जनामा झर्‍यो । ०७४ को प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व १९ जना
रह्यो भने ०७९ मा यो संख्या घटेर १६ मा सीमित रहेको छ । प्रतिनिधिसभामा एक जना छविलाल विश्वकर्मा प्रत्यक्षबाट निर्वाचित हुन् भने अन्य १५ जना समानुपातिकबाट निर्वाचित छन्, जसमध्ये दलित महिला सांसदको संख्या ८ मात्रै रहेको छ ।
संविधानसभा सदस्य विनोद पहाडीको संसदीय अनुभवमा एकअर्काको समस्यालाई आत्मसात् गर्ने प्रवृत्ति संसद्भित्र कमै भएको देखिन्छ । एउटा समुदायले अर्को समुदायका
मुद्दा उठान गर्दा जति प्रभाव पर्छ, त्यति उही समुदायले उठाउँदा सामान्य लाग्छ । विनोदले संसद्मा सबैको दुःख बाँड्ने र एकमुष्ट आवाज उठाउने संस्कारको विकास गर्न जरुरी रहेको सुनाउँछन् ।
अधिकारकर्मी दुर्गा शोभले दलित र त्यसमा पनि महिला हुनुको चर्को विभेद सही नसक्नु रहेको बताइन् । समाजदेखि सदनसम्म हेर्दा दलित महिलाका मुद्दा न उठाइन्छ न त बहसमै ल्याइने उनको तर्क छ । यद्यपि, दलित महिला सांसदले यी सबै चुनौती चिर्नुपर्ने उनको सुझाव छ । ‘महिलाभन्दा पनि दलित महिलाको पीडा अझ दोब्बर छ,’ उनले भनिन्, ‘महिलाहरू विभेदमा छन् तर दलित महिलाले जस्तो सबैले छुवाछूत खेप्नु पर्दैन । त्यसैले दलित महिलाका मुद्दा अन्यका भन्दा फरक भनेकी हुँ ।’


संसद्मा कसले के बोले ?

हर्कमाया विश्वकर्मा
(२०८० वैशाख २६, जेठ २६ र जेठ २८)
-जेठ २१ लाई राष्ट्रिय दलित दिवस बनाउन माग
-बजेटमा दलितका विभिन्न कार्यक्रम गर्ने भन्नुको सट्टा स्पष्ट नीति ल्याउन सुझाव
-विनियोजन विधेयकको प्रभावकारिताबारे टिप्पणी

सीता मिजार (जेठ ९, २५ र असार ३१)
-बाजुरामा अन्तरजातीय विवाह गर्दा मन्दिरको पण्डित भागेको मुद्दा उठान
-राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा राय
-इलामका सन्तोष खातीले आफ्नै भाइबुहारीको हत्या गरेको घटनामा ध्यानाकर्षण

रुक्मणी राना बराइली
(वैशाख ६, जेठ ९, २४ र असार ८)
-सडक निर्माण अपूरो भएको बारे ध्यानाकर्षण
-नीति तथा कार्यक्रममाथि छलफल
-राजस्व र न्यायको वार्षिक अनुमानमाथि छलफल
-बजेटमाथिको छलफलमा व्यवहारमुखी बजेट बनाउन सुझाव

रूपा विक (वैशाख ५, जेठ १० र २८)
-राजस्व र व्ययको वार्षिक अनुमानमाथि
छलफलमा राय
-पश्चिम रुकुमका नवराज विकलगायतले न्याय नपाएको र अन्य जातीय घटनामाथि ध्यानाकर्षण
-दिनैपिच्छे दलितमाथि विभेद बढेको र दलितले न्याय नपाएकामा ध्यानाकर्षण

अनिशा नेपाली (जेठ ९ र असार ३)
-विनियोजन विधेयकमाथि छलफल

शान्ति विक (असार २९)
-दलितमाथि अमानवीय व्यवहार भएको विवरणसहित न्याय र समानताका लागि ध्यानाकर्षण

Page 4
समाचार

जिम्मेवारीले बदलिएको दैनिकी

- मेनुका ढुंगाना

(अछाम)
खरखरी अक्षर पढ्न नसक्ने भए पनि चौरपाटी गाउँपालिका–६ दुनीकी ३० वर्षीया बसन्ती साउदले वडा सदस्यको भूमिका कुशलतापूर्वक निर्बाह गरिरहेकी छन् । गरिबी र अभावसँग जुध्दै हुर्केकी उनलाई निर्वाचित जनप्रतिनिधि भएपछि दुनियाँ नै बदलिएजस्तो भएको छ । अहिले जसोतसो आफ्नो
नाम लेख्न सक्ने भएकी छन् । १३ वर्षको उमेरमा
उनको मागी विवाह भएको थियो । बिहेको एक वर्षपछि नै श्रीमान् गुमाइन् ।
राजनीतिबारे जानकार नभए पनि नेकपा एमालेले महिला वडा सदस्यमा उम्मेदवार बनायो । ‘आफूजस्तै दुःख पाएका महिला देख्दा झन् पीडा हुन्थ्यो । उनीहरूसँगै मिलेर केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी थियो,’ बसन्तीले भनिन्, ‘पार्टीले उम्मेदवार हुनुपर्‍यो भन्दा मैले पनि हुन्छ भनें, सबैको सहयोगबाट निर्वाचित पनि भएँ ।’
निर्वाचित हुनुअघिसम्म बसन्तीलाई आफ्नै दुःखले सताउँथ्यो । मन टोलाउँथ्यो । हिजोआज भने उनी वडाका अनेकन काममा खटिन्छिन् । भनिन्, ‘अहिले मलाई दिन बितेको पत्तो हुँदैन ।’ चुनावअघिसम्म उनलाई मान्छेका अघि गएर बोल्न त परको कुरा, अघि गएर उभिन पनि सकस पर्थ्यो रे । उनले थपिन्, ‘वडा सदस्य नभएको भए मेरो जिन्दगी केही नबुझी आफ्नै पीडामा यसै जाने रहेछ ।’ अचेल भने उनी वडाका विभिन्न कार्यक्रममा सहभागी हुन्छिन्, निर्धक्क भएर बोल्छिन् । ‘वडाको बजेट बनाउने बेला महिला र दलितका पक्षमा बजेट ल्याउन धेरै मिहिनेत गर्नुपर्‍यो,’ उनले भनिन्, ‘राम्ररी पढ्न नआए पनि के लेखेको रहेछ भनेर अरूलाई सोध्छु ।’
चौरपाटी गाउँपालिका–६ दुनीकी ४७ वर्षीया थुना परियारको जीवनको दुःख पनि बसन्तीको भन्दा फरक छैन । १४ वर्षमा बिहे गरेर १५ वर्षमा आमा बनेकी उनले सबैभन्दा दुःख त्यतिबेला पाइन्, जब हैजाका कारण ९ दिनको फरकमा ४ वर्षीय छोरा र श्रीमान्को मृत्यु भयो । त्यतिबेला कति दुःख पाइन् भन्ने सम्झिँदा पनि अहिले उनलाई भक्कानो छुट्छ । वियोगको चोटमाथि अभावले दिएको पीडा सहेर छोरी हुर्काइरहेकी थुनालाई गत स्थानीय तह निर्वाचनमा एमालेले नै दलित महिला वडा सदस्यको उम्मेदवार बनायो । निर्वाचन जितेपछि थुनाको सार्वजनिक जीवन बदलिँदै गएको छ । घर–परिवारको काममा मात्रै सक्रिय उनी बिस्तारै बाहिरफेर गर्न थालेकी छन्, आमा समूह र संघसंस्थाको कार्यक्रममा सक्रिय हुने थालेकी छन् ।
‘आफूलाई सधैंभरि पीडामा राखेर पनि नहुँदो रहेछ । गाउँमा हुने हरेक बैठक, तालिममा जाँदाजाँदै अहिले म बोल्न सक्ने भएकी छु,’ उनले भनिन्, ‘कतिपयले मलाई हाम्रा गाउँकी नेता हो भन्दै जिस्क्याउँछन् ।’ उपचार अभावमा छोरा र श्रीमान् गुमाएकी थुना स्थानीयको स्वास्थ्य उपचार र एकल महिलाका मुद्दालाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताउँछिन् । निर्वाचित हुनुअघिसम्म हरेक दिन उनको दैनिकी घरको कामबाट सुरु हुन्थ्यो र घरकै काममा सकिन्थ्यो । तर, अहिले उनी पालिका र वडाका बैठकमा जान्छिन्, तालिममा सहभागी हुन्छिन् । वडा बैठकमा महिला सदस्यका कुरा कम सुनिने उनको अनुभव छ । ‘अरू जनप्रतिनिधिजसरी नै हामी पनि मतदाताको मत पाएरै आएको हो । तर, बैठकमा हाम्रा कुरा सुनिँदैन,’ उनले भनिन्, ‘अन्य वडामा कसरी काम हुन्छ, महिला वडा सदस्यले कसरी काम गरेका छन् भनेर पनि सोधीखोजी गर्छु ।’
चौरपाटी गाउँपालिका–४ की ५५ वर्षीया ढुन्की कामी हस्ताक्षरसम्म सजिलै गर्न नसक्ने महिला हुन् । एक वर्षअघिसम्म राजनीति, सहर, बजार, बैठक, तालिम यी सबै उनका लागि बिराना विषय थिए । तर, अहिले उनी यसमा बिस्तारै परिचित भइरहेकी छन् । एक वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा उनलाई कांग्रेसले दलित महिला सदस्यको उम्मेदवार बनायो । निर्वाचित पनि भइन् । ‘आफैंले नसोचेको पदको जिम्मेवारी आयो,’ उनले भनिन्, ‘दलित र गैरदलितबीचको भेदभावलाई मैले ज्यादै नजिकबाट देखेकी छु ।’ गैरदलितले प्रयोग गरिरहेको धाराको पानी खान नपाइने, बाटो हिँड्दा तर्केर हिँड्नुपर्ने जस्ता व्यवहारको सामना गरेकी ढुन्कीलाई यो सबै बदल्न मन छ ।
गाईबस्तु, मेलापात, घाँस–दाउराकै वरिपरि अल्झिएकी उनी राजनीतिमा आएपछि बदलिएको जीवनीबारे तुलना
गर्दै भन्छिन्, ‘पहिले आज एउटाको, भोलि अर्कैकोमा काम गरेरै समय बित्थ्यो, बिहान उठेदेखि राति नसुतुन्जेल कामैले छोड्दैनथ्यो ।’ महिला सदस्यमा निर्वाचित भएपछि आफूमा आत्मविश्वास जागेको ढुन्कीले सुनाइन् । ‘पहिले देख्दा पनि वास्ता नगर्नेहरू अहिले के छ नेताज्यू भन्दै बोल्छन्,’ उनले भनिन्, ‘जिताएर पठाए पनि केही गर्नु भएन भनेर गुनासो गर्ने पनि छन् । कतिपयले त गाली नै गर्छन्, रिसाउँछन् पनि ।’
पहिले घरायसी चुलोचौकामा व्यस्त रहने ढुन्कीलाई अहिले गाउँमा हुने बैठक, तालिम, पार्टीका कार्यक्रममा जानै भ्याइनभ्याइ छ । ‘पहिले त के बोल्ने, कसो गर्ने भनेर हडबडाउँथें,’ उनले भनिन्, ‘अहिले भने मनमा लागेका कुरा बोल्न सक्छु ।’ संघीयताले परिकल्पना गरेको र संविधानले अनिवार्य व्यवस्था गरेकै कारण अहिले प्रत्येक वडा तहमा महिला नेतृ जबर्जस्त रूपमा आएको दलित महिला संघ (फेडो) अछामकी अध्यक्ष लक्ष्मी सोवले बताइन् । ‘महिलाहरू राजनीतिक रूपमै स्थापित भइरहेका छन्,’ उनले भनिन्, ‘केही महिलाको वडा सदस्यबाट सुरु भएको राजनीति माथिल्लो तहसम्म पनि पुगेको छ ।’

समाचार

नेपालको नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– परराष्ट्र मन्त्रालयले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । ‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ । यो नक्सालाई हाम्रा छिमेकीहरू र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नॅपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले चीन वा भारतको नाम भने उल्लेख गरेको छैन ।
परराष्ट्रले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । चीनले भदौ ११ मा आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेर जारी गरेपछि सरकारले प्रतिक्रिया दिएको हो । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो । त्यसलाई संसद्ले जेठ ३१ मा सर्वसम्मतले अनुमोदन गरेर संविधानको अंग बनाएको थियो । तर भारतले नेपालको नयाँ नक्सालाई स्वीकार गरेको छैन र नेपाली भूमिमा भारतीयहरू अझै बसिरहेका छन् ।
नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले सन् २०२३ को संस्करण भन्दै सोमबार नयाँ चुच्चे नक्साको स्थानमा पुरानै नक्सालाई स्थान दिएर आफ्नो नक्सा बाहिर ल्यायो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार उक्त नक्सा चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको हो । ‘यो नक्सा चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सीमा रेखांकन विधिका आधारमा तयार गरिएको हो,’ ग्लोबल टाइम्समा उल्लेख छ ।
भारत र चीनबीच सीमा विवाद चलिरहँदा दुवै मुलुकले दाबी गरिरहेका ‘अक्साई चीन’ र अरुणाचलको भागलाई पनि चीनले समेटेको छ । चीनले नेपालको सीमा सम्बन्धमा विवादास्पद कुरा बाहिर ल्याएको पहिलो पटक भने होइन । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण दौरान भारत–चीनबीच भएको ४१ बुँदे सम्झौताको २८ औं बुँदामा ‘भारत र चीन लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मञ्जुर भएका छन्’ भन्ने उल्लेख गरिएको थियो । त्यस बेला नेपालले दुवै मुलुकलाई ‘प्रोटेस्ट नोट’ पठाएको थियो । जसको जवाफ दुवै देशले हालसम्म दिएका छैनन् ।

Page 5
अर्थ वाणिज्य

बिजुली उत्पादन, प्रसारण र वितरणका लागि छुट्टाछुट्टै कम्पनी

- कमल धिताल

(काठमाडौं)
सरकारले एउटै कम्पनीलाई विद्युत् उत्पादन, प्रसारण र वितरण गर्न नपाउने गरी विद्युत् ऐन संशोधनको तयारी गरेको छ । मन्त्रिपरिषद्बाट मंगलबार पास भएको ‘विद्युत् ऐन ०८०’ को मस्यौदामा एउटै कम्पनीले उत्पादन, प्रसारण र वितरण गर्न नपाउने व्यवस्था छ । हाल विद्युत् उत्पादन, प्रसारण र वितरणमा नेपाल विद्युत् प्राधिकरणको एकाधिकार छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत मस्यौदा संसद्मा पेस भएपछि पास भएको खण्डमा प्राधिकरण उत्पादन, प्रसारण, वितरणका लागि छुट्टाछुट्टै संस्था खडा गर्नुपर्नेछ । पाँच वर्षभित्र त्यस्तो संस्थाले विद्युत् उत्पादन, प्रसारण र तथा वितरणका लागि छुट्टाछुट्टै संस्था गठन गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।
‘विद्युत् आयोजनाको विकास तथा सञ्चालनका लागि एउटै संस्थालाई एकभन्दा कार्यका लागि अनुमति प्रदान गरिने छैन,’ संशोधनका लागि तयार मस्यौदाको दफा १८ को १ मा भनिएको छ । तर, राष्ट्रिय प्रसारण ग्रिड नपुगेको क्षेत्र, विद्युत् आपूर्ति गर्न भारवहन क्षमता तथा अन्य प्राविधिक कारणले सम्भव नभए उक्त दफाले असर गर्ने छैन ।
लामो समयदेखि निजी क्षेत्रले माग गर्दै आएको विद्युत् व्यापारलाई ऐनको मस्यौदामा समावेश गरिएको छ । विद्युत् व्यापार तथा प्रसारण लाइनमा निजी क्षेत्रको सहभागितालाई प्रस्तावित मस्यौदाले समेटेको छ । ‘यस ऐनको अधीनमा रही व्यापार अनुमतिपत्र प्राप्त संस्थाले विद्युत्को व्यापार गर्न सक्नेछ,’ मस्यौदाको दफा ३४ को १ मा उल्लेख छ । विद्युत् उत्पादन अनुमति पाएका संस्थाले उत्पादन गरेको विद्युत् पूर्ण वा आंशिक रूपमा खरिद गर्ने, व्यापार अनुमति पाएका संस्थाबीच आपसमा विद्युत् खरिदबिक्री गर्ने, खरिद गरेको विद्युत् थोक वा खुद्राका रूपमा बिक्री गर्ने र विद्युत्को अन्तरदेशीय व्यापार गर्ने व्यवस्था मस्यौदामा गरिएको छ । ऐनको मस्यौदामा प्रसारण, वितरणजस्ता कुरामा ‘खुला पहुँच’ प्रावधान राखिएको छ । ‘खुला पहुँच भन्नाले विद्युत् उत्पादन, व्यापार वा ग्राहक सेवा अनुमतिपत्र प्राप्त संस्थाले राष्ट्रिय प्रसारण ग्रिड, वितरण प्रणाली र सोसँग सम्बन्धित संरचना तथा सुविधा बिनाभेदभाव प्रयोग गर्न पाउने’ व्यवस्था उल्लेख छ । विद्युत् उत्पादन आयोजनाको विकास तथा सञ्चालन प्रतिस्पर्धामा गर्नुपर्ने व्यवस्था छ । विद्युत्, प्रसारण वितरण, व्यापार वा ग्राहक सेवाको विकास तथा सञ्चालनसमेत प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने मस्यौदामा उल्लेख छ । यस्तै विद्युत् खरिद प्रतिस्पर्धामा गर्ने व्यवस्था छ । स्वदेशमा खपत हुने विद्युत्को हकमा वितरण गर्ने संस्थाले प्रतिस्पर्धा गराई विद्युत् खरिद गर्नुपर्ने उल्लेख छ । ऐन लागू हुनुअघि अनुमति पाएका आयोजनाले चाहे विद्युत् खरिदबिक्रीमा भाग लिन पाउने व्यवस्थासमेत गरिएको छ ।
यसअघि ५० वर्ष रहेको जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि ४५ वर्षमा झारिएको छ । जलस्रोतबाहेक अन्य स्रोतको उत्पादन अवधि २५ वर्ष, विद्युत् प्रसारण, वितरण र व्यापारका लागि २५ वर्षको अनुमति व्यवस्था राखिएको छ । उत्पादित विद्युत् सोझै विदेशी बजारमा निर्यात गर्ने गरी प्रस्ताव गरे जलशाययुक्त आयोजनामा ४० र अन्यमा ३५ वर्षको अनुमति दिइने व्यवस्था छ । आयोजनामा अवरोध, विकास तथा सञ्चालनमा बाधाजस्ता समस्या भए सरकारले पाँच वर्ष थप गर्न सक्ने उल्लेख छ ।
मस्यौदमा पाँच मेगावाटसम्म जडित क्षमताको आयोजना तथा वैकल्पिक ऊर्जासम्बन्धी आयोजना पालिकालाई अधिकार दिइएको छ । २५ मेगावाटसम्म प्रदेश र त्यसभन्दा माथि केन्द्र सरकारलाई अधिकार दिइएको छ । पालिकाको सिमानामा पर्ने दुई वा त्यसभन्दा बढी पाँच मेगावाटसम्मको आयोजनाको अधिकार प्रदेश सरकारलाई दिइएको छ । दुई वा त्यसभन्दा बढी प्रदेशको सिमानामा पर्ने आयोजनाको अधिकार केन्द्र सरकार मातहतमा रहनेछ । राष्ट्रिय ग्रिडमा जोडिने आयोजनाको हकमा केन्द्र सरकारको अधिकार रहने तथा प्रदेश र पालिकासँगको सहकार्यमा जतिसुकै क्षमताको पनि आयोजना सञ्चालन गर्न सकिने मस्यौदामा उल्लेख छ । बहुउद्देश्यीय वा जलाशययुक्त आयोजनामा बाँध निर्माण, व्यवस्थापन तथा सञ्चालन र उत्पादन गर्नसमेत अलग अलग संस्थालाई अनुमति दिन सक्ने पनि मस्यौदामा बताइएको छ ।
निजी क्षेत्रले लामो समयदेखि विद्युत् व्यापार अनुमति माग गर्दै आएको र सरकारले विद्युत् ऐन पास गरेर त्यो सुविधा दिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् । ‘निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिए उसले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्छ,’ उनले भने, ‘निजी क्षेत्रले उत्पादन गरेका कतिपय आयोजनाको बिजुली बिक्री भएको छैन । अनुमति पाए जसरी नि बिक्री गर्छ ।’
मस्यौदाअनुसार विद्युत्, उत्पादन, प्रसारण र वितरण छुट्टाछुट्टै संस्थाले गर्नुपर्ने पूर्वऊर्जा सचिव देवेन्द्र कार्कीको भनाइ छ । ‘उत्पादन, प्रसारण लाइन पनि उसैको र वितरण पनि उसैको हुँदा एकाधिकार हुन्छ । त्यसकारण यो फरक–फरक हुनुपर्छ,’ उनले भने, ‘यसअघि उत्पादनका लागि विद्युत् उत्पादन कम्पनी र प्रसारणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी स्थापना भएका थिए । यसमा मान्छे भर्ती गर्नेबाहेक केही भएको छैन । विद्युत् प्राधिकरणको अनबन्डलिङमा त्यहाँका कर्मचारी र ट्रेड युनियनले गर्न दिँदैनन् ।’
सरकारले उत्पादन प्रसारण र वितरण एउटै कम्पनीलाई दिनु गलत रहेको र नयाँ ऐनमा त्यो व्यवस्था हटाउनुपर्ने इप्पानका महासचिव बलराम खतिवडाको भनाइ छ । ‘एउटै कम्पनीलाई सबै काम गर्न दिँदा बजारमा कसरी प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘एकाधिकार तोड्नलाई पनि यो फरक फरक कम्पनीलाई दिनुपर्छ ।’ निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विद्युत् व्यापारका लागि ऐन संशोधन चाँडोभन्दा चाँडो संसद्बाट पास गर्नुपर्ने खतिवडा बताउँछन् ।
प्राधिकरण सरकारकै रहेको र सरकारले पुनःसंरचना गर्न चाहे गर्न सक्ने प्राधिकरण सञ्चालन समिति सदस्य कपिल आचार्यले जनाए । ‘सरकारले कुनै पनि ऐन ल्याए त्यसलाई सबैले सजिलै मान्नुपर्छ,’ उनले भने, ‘यसअघि उत्पादन र प्रसारणका लागि कम्पनी स्थापना गरे पनि त्यसको प्रभावकारिता देखिएको थिएन । ऐनमा पाँच वर्षको व्यवस्था गरेको भन्ने सुनिएको छ । त्यसैअनुसार होला ।’

अर्थ वाणिज्य

तीनपिप्ले–रानीपौवा सडकमा फेरि ठेक्का

- विमल खतिवडा

(काठमाडौं)
काठमाडौंदेखि नुवाकोट जोड्ने तीनपिप्ले–रानीपौवा सडकको ठेक्का तोडेको एक वर्षपछि पुनः ठेक्का गर्ने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता माग गरिएको छ । बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी ५५.५ किमि हो । यसमध्ये अहिले तीनपिप्ले–रानीपौवा सडकको दूरी मात्र १२.५ किमि छ । यो सडकको स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरिएको हो ।
चालु आर्थिक वर्षमा विनियोजित ५० करोड रुपैयाँ अपुग हुने भन्दै थप रकमको स्रोत सुनिश्चितता मागिएको हो । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गर्न लागिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर, सात पटक म्याद थप्दा पनि काम सकिएन । काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिएको इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा ठेक्का सम्झौता तोडेर तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । यी कम्पनीलाई तीन वर्षका लागि गत वर्ष नै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिसकेको छ । अहिले उक्त खण्डमध्ये तीनपिप्ले–रानीपौवा १२.५ किमिमा ठेक्का गरेर स्तरोन्नति गर्न लागिएको हो । बालाजुदेखि तीनपिप्लेसम्मको सडकमा भने कुनै समस्या नरहेको सडक सुधार तथा विकास योजना कार्यालयका योजना प्रमुख मेघराज मरासिनीले बताए ।
‘ठेक्का तोडेको खण्डमा फेरि ठेक्का गरेर काम गर्न लागिएको हो,’ उनले भने, ‘त्यसका लागि स्रोत सुनिश्चितताको माग गरिएको छ, अर्थले सहमति दिए चालु आर्थिक वर्षमै ठेक्का गर्न सकिन्छ ।’ त्यस्तै रानीपौवा–पीपलटार खण्डको पनि यही आर्थिक वर्षमा ठेक्का गर्न परामर्शदातालाई सर्भे गर्न लगाइएको छ । त्यसका लागि परामर्शदाताले डेढ महिनाको समय मागेको उनले सुनाए । परामर्शदाताबाट फाइनल रिपोर्ट पेस भएपछि त्यसका लागि पनि स्रोत सुनिश्चितता माग गरिने आयोजनाले जनायो । रानीपौवाबाट पीपलटार ३४ किमि छ । यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे ४ किमि सडक बनिसकेको छ ।
रानीपौवा–पीपलटार सडकमा भने डेढ महिनापछि स्रोत सहमतिका लागि अर्थ र राष्ट्रिय योजना आयोग पठाइनेछ । ‘दुवै खण्डको ठेक्का चालु आर्थिक वर्षमै गर्ने गरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षमा दुवै खण्डका लागि बजेट सुनिश्चित भए ठेक्काको काम टुंगिन्छ ।’ रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) गरेपछि ठेक्का लगाइनेछ । यहाँ २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
नौ वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्या छन् । सडककै कारण व्यापार व्यवसाय चौपट बनेको उनीहरूको गुनासो छ । सडक भत्काएर वर्षौंसम्म नबनाउँदा स्थानीयको दैनिक जीवनयापन नै प्रभावित बनेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । ‘९ वर्षअघि स्तरोन्नतिका नाममा सडक भत्काएदेखि स्थानीयलाई जीवनयापनमा समस्या भएको छ, सडकको छेउछाउमा तरकारी, फलफूल र होटल व्यवसाय गरेर जीवन निर्वाह गर्नेहरू अहिले पलायन बनेका छन्,’ उनले भने, ‘तरकारी, फलफूल लगाउनेहरूले हिजोआज लगाउन छाडेका छन् ।’
ट्राउट माछाको स्वाद लिन काठमाडौंदेखि आन्तरिक पर्यटक आउने गरे पनि अहिले सडकको अवस्थाले गर्दा त्यो क्रम घटेको उनको भनाइ छ । ‘अहिले होटल व्यवसाय बन्द भएर घरबासै उठेको अवस्था छ,’ उनले भने ।

 

अर्थ वाणिज्य

अनुदानले तान्यो रैथाने बालीतिर

- सीमा तामाङ

(काठमाडौं)
मकवानपुरगढीस्थित कालीखोलाकी नीरमाया तामाङले ३ वर्षअघिसम्म ६ रोपनी जग्गामा मात्रै कोदो रोप्थिन् । मूल्य नपाउने र दुःख धेरै नहुने भन्दै थोरै मात्र कोदो लगाउने गरेकी थिइन् । यसपालि उनले १३ रोपनी जग्गामा कोदो रोपिसकिन् ।
‘पहिला मूल्य नपाउने भएकाले वस्तुलाई नल खुवाउन हुन्छ भनेर कोदो रोप्थ्यौं,’ उनले भनिन्, ‘अहिले मूल्य नि पाइन्छ । त्यही भएर सबै जग्गामा कोदो रोप्छौं । गाउँपालिकाले प्रतिकिलो ५ रुपैयाँ अनुदान दिन्छ । आफैंले कोदो पनि किन्छ ।’ तीन आर्थिक वर्षदेखि ९ देखि १० क्विन्टलसम्म कोदो बेचिरहेको उनले सुनाइन् । जबकि पहिला ३/४ क्विन्टल कोदो मुस्किलले बेचिन्थ्यो । ‘पहिला प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म पुग्थ्यो । अहिले प्रतिकिलो ४७ रुपैयाँ पाइन्छ,’ उनले भनिन्, ‘अहिले त गाउँका सबैले कोदो रोप्छन् । बेच्न नि टाढा जानुपर्दैन ।’
मकवानपुरगढी गाउँपालिकामा उत्पादित कोदो वडा–४ का कृषि सहकारीले किन्छन् । संघीय सरकारले रैथाने बाली कार्यक्रमका लागि मकवानपुरगढीमा ३ वर्षदेखि बजेट पठाउन थालेको छ । संघीय सरकारले पठाएको बजेटसँगै गाउँपालिकाले समेत रैथाने बाली प्रवर्द्धनका लागि बजेट छुट्याउँदै आएको छ । सोही कारण तीन वर्षअघि २ सय ५० हेक्टर जमिनमा कोदो बाली लगाइन्थ्यो, अहिले ३ सय हेक्टर जमिनमा लगाउन थालिएको गाउँपालिकाको तथ्यांक छ ।
कोदोको उत्पादन र उत्पादकत्व बढाउनुका साथै यसको खपत गराउनसमेत स्कुलको दिवा खाजा कार्यक्रममा साताको बिहीबार रैथाने उत्पादन खुवाउनुपर्ने गाउँ कार्यपालिकाले निर्णयसमेत गरेको छ । ‘संघको बजेट किसानसँगै छलफल गरेर विभिन्न प्रविधि, उन्नत बीउबिजनलगायतमा खर्च गर्छौं,’ गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले भने, ‘कोदो बालीको क्षेत्र विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्न बजेट खर्च हुन्छ ।’ गाउँपालिकाले गत वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेती गर्ने किसानलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहन अनुदान दिन थालेको छ । ‘यस वर्ष ४१ रोपनी बाँझो जग्गा खनजोत भइसक्यो,’ उनले भने, ‘उत्पादन प्रवर्द्धनसँगै मृल्यशृंखलामा आबद्ध गराई प्रशोधन गरेर बजारसम्म पठाउन गाउँपालिकाबाट सहयोग गरिरहेका छौं ।’
दिवा खाजा कार्यक्रममा कोदोको सेल, हलुवा, फापरको फुलौरा, जुनेलोको लड्डु, खिर, मकै, फर्सीको खिरलगायत हुन्छ । गाउँपालिकाले गत वर्ष कोदोको न्यूनतम समर्थन मूल्य ४५ रुपैयाँ तोकेको थियो । यस वर्ष समर्थन मूल्य तोक्न प्रक्रिया अघि बढाइए पनि मूल्य तोकिनसकेको उनले सुनाए । कोदो भण्डारणका लागि समेत गाउँपालिकाकै सहयोगमा भवन निर्माण भएको उनले बताए । ‘गाउँपालिकाले कोदो किनेबापत सहकारीलाई प्रतिकिलो ४ रुपैयाँ अनुदान दिन्छ,’ उनले भने, ‘सहकारीले खरिद, भण्डारण र बिक्रीबापत २ रुपैयाँ आफैं राख्छ भने किसानलाई प्रतिकिलो दुई रुपैयाँ किसानलाई दिन्छ ।’ सबै कोदो एकै पटक बिक्री नहुने भएपछि गाउँपालिकाले प्रशोधन गरी लेबलिङ गरेर बिक्रीवितरण गर्ने तयारी थालेको छ ।
खाद्य सुरक्षाका हिसाबले धान, गहुँ, मकै, कोदो, फापर र जौलाई मुख्य खाद्यान्न बाली मानिए पनि यसको उपभोग हुन सकेको छैन । खाद्य सुरक्षामा यी बालीको योगदानमा समेत ठूलो असन्तुलन रहेको पाइएको छ । वार्षिक घरपरिवार सर्वेक्षण ०१६/१७ अनुसार प्रतिव्यक्ति प्रतिवर्ष १ सय १८ किलो चामल, मकै १७.६, गहुँ २१.०, कोदो ३.५, फापर र जौ क्रमशः ०.१ किलो मात्र उपभोग गरेको तथ्यांक छ । मुलुकमा सबैभन्दा बढी चामल खपत हुने गरेको छ । वार्षिक ३४ लाख ८० हजार टन चामल आवश्यक हुँदा आन्तरिक उपलब्धता ३१ लाख २३ हजार टन मात्रै छ । तर अन्य बाली उत्पादनको ठूलो परिमाण भने मुख्य खानाका रूपमा उपभोग नभई अन्य प्रयोजनका लागि प्रयोग हुने गरेको देखिएको छ ।
संघीय सरकारले कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेलगायत रैथाने बाली प्रवर्द्धन तथा संरक्षण गर्न आर्थिक वर्ष ०७७/७८ देखि कार्यक्रम सुरु गरेको छ । गत आर्थिक वर्षदेखि कृषि जैविक विविधता संरक्षण कार्यक्रम पनि सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रमार्फत आर्थिक वर्ष ०७७/७८ देखि विभिन्न पालिकामा बजेट पठाउँदै आएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा केन्द्रले ३० वटा पालिकामा ३ करोड रुपैयाँ बजेट रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रमअन्तर्गत पठाएको थियो । आर्थिक वर्ष ०७८/७९ मा सय पालिकामा १३ करोड १८ लाख रुपैयाँ बजेट पठाएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा एक सय छ पालिकामा १० करोड ६६ लाख रुपैयाँ पठाएको थियो । चालु आर्थिक वर्षमा एक सय ३३ पालिकाका लागि ६ करोड ८९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
करिब ३० वर्षअघिसम्म कोदो, फापर, गहुँ, उवा, चिनो, कागुनोलगायत रैथाने बाली नै खाद्य सुरक्षा र पोषणको आधार रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले सुनाए । ‘पहिला बाटोघाटोको सुविधा नहुँदा जहाँ जे उत्पादन हुन्छ, त्यही खानु पर्ने अवस्था थियो,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रम नै धान, गहुँ र मकैलगायत बालीलाई उत्पादन बढाउन लगानीसहित केन्द्रित हुन थाले । त्यसकारण रैथाने बालीहरू ओझेलमा पर्दै गएका थिए ।’ ओझेलसँगै खेतीपाती, प्रशोधन, परिकारमा विविधीकरण गर्न नसक्दा युवापुस्ताले मन नपराउनेलगायत कारणले उत्पादन घट्दै गएको उनले सुनाए ।
पछिल्लो समय यस्ता रैथाने बालीलाई पुनर्जीवन दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रयास भइरहेको उनको भनाइ छ । ‘रैथाने बालीमा रहेको पोषण विशेषताबारे जागरुक हुन थालेको छ, स्वस्थ जीवनका लागि आवश्यक कार्बोहाइड्रेटसहित प्रोटिन, खनिजलगायत धेरै पौष्टिक तत्त्व रैथाने बालीमा पाइने भएकाले पनि यसतर्फ आकर्षित हुन थालेका छन्,’ उनले भने ।

Page 6
अर्थ वाणिज्य

तातोपानीमा पास लिनेको लर्को

- अनिश तिवारी

(सिन्धुपाल्चोक)
चीनको खासाबाट आठ वर्षपछि लिपिङ आइपुग्दा तिब्बती वेशभूषामा सजिएका एक सय २० स्थानीय (खासावासी) झकिझकाउ देखिन्थे । उता मितेरी पुलपारि पुगेका दुई सयभन्दा बढी नेपाली चिनियाँ आतिथ्यपछि मितेरी पुलछेउका केही बजारमा व्यापारिक किनमेलमा व्यस्त रहे । नेपाल–चीनको मितेरी पुलयताका बजार धेरै झकिझकाउ थिए, त्यहाँ पास लिएर आइपुगेका खासावासीलाई चिनियाँले नेपालीलाई गरेझैं नेपालीले सम्मान गर्दै स्वागत गरे । आठ वर्षपछि नाका खुलेको खुसीमा दुवैतर्फ ठेलमठेल र पास लिनेहरूको लर्को देखियो ।
०७२ वैशाख १२ को भूकम्पपछि शुक्रबार सर्वसाधारणका लागि तातोपानी नाका खुला गरिएको हो । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने तातोपानी नाका भएर शुक्रबार दुई सय स्थानीय चिनियाँ क्षेत्र प्रवेश गरेको कोदारीस्थित अध्यागमन कार्यालयका प्रमुख रवीन्द्र पोखरेलले जनाए । सुरुमा सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटासहित ३० जनालाई पारि पठाएर आउजाउको उदघाट्न गरियो । चिनियाँ क्षेत्र प्रवेशका लागि नीलो रङको पास जारी गरेकामा दुई सय २७ ले सुरुवाती चरणमा पास लिन पाएको र पास लिन आउनेको चाप बढ्दो रहेको उनले जनाए । ‘सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा गएका छन्, उनीहरू आठ वर्षपछि चिनियाँ सामान किनेर फर्किए,’ पोखरेलले भने ।
आयातनिर्यात सहज पार्न आडो ट्रान्सपोर्ट कम्पनीले चिनियाँ सहरबाट तातोपानीसम्म एक सीबीएमको चार सय ५० घोर्मु लिएर सामान ढुवानी गर्ने घोषणा गरेको छ । यसले व्यवसायी झनै उत्साहित भएका छन् । यसअघि अरू ट्रान्सपोर्ट कम्पनीले ६ सय घोर्मु लिएर खासासम्म मात्रै ढुवानी गर्दै आएका थिए । खासा व्यापारमा मात्रै निर्भर सीमाका बासिन्दालाई हाल चिनियाँ क्षेत्र लिपिङ पारि १५ अनि रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।
आठ वर्षपछि पास प्रक्रिया पूरा गरेर जिल्लाका बासिन्दाले आवश्यक लत्ताकपडा र घरायसी सामग्रीलगायत खरिद गर्दै चिनियाँ बजार घुम्न पाउँदा पर्वझैं मनाए । खासावासीहरूले पनि लिपिङ पुगेर नेपाली आफन्तसँग भेटघाट गरे । भूकम्पले बन्द भएपछि ०७६ जेठ १५ मा आयातका लागि एकतर्फी खुलेको यो नाकाबाट गत वैशाख १८ मा निर्यात खुलेको थियो । नेपाली र चिनियाँ अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र लिपिङमा पटकपटक छलफल भएपछि बल्ल मानिसको आउजाउ खुलेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जनाए ।
खासाबाट खरिद गरेर ल्याएका सामग्रीको भन्सार पासका लागि पुरानै भन्सारमा छोटी भन्सार राखेर सुरु गर्ने तातोपानी सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए । ‘नाकाबाट आउजाउ सुरु भएको छ, तत्काल लिपिङमा छोटी भन्सार सुरु गरेर महसुस लिने व्यवस्था मिलाउनेछौं,’ उनले भने । भूकम्प र बाढीपहिरोले सीमा जोड्ने सडक कोदारी राजमार्ग जीर्ण छ । कोरोना महामारीले तीन वर्ष आयात अनियमित बनेको नाका ताल फुट्ने जोखिमले प्रभावित बन्यो ।
‘बल्ल सर्वसाधारणका लागि नाका खुलेको छ, स्थानीय र व्यवसायी धेरै हर्षित छन्, यसले व्यापारिक रूपमा जिल्लालाई बलियो बनाएको महसुस गरेका छौं,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भने । भूकम्पअघि नेपाली व्यापारीले चीनको खासा क्षेत्रका कम्पनी र अन्य बजार गएर दुई सय कन्टेनरसम्ममा सामग्री ल्याउन पाउँथे । अब खासामा आवश्यक भौतिक र व्यापारिक व्यवस्थापन सकिएपछि सर्वसाधारणले क्रमशः त्यही सुविधा पाउने उनले प्रस्ट्याए ।
नाका खोल्न अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहको भवन यसअघिदेखि चिनियाँ कम्पनीले बनाइदिएका थिए । यीबाहेक अध्यागमन भवन, लिपिङ भन्सार यार्ड, सुरक्षा गेट भूकम्प र भोटेकोशी बाढीले जीर्ण बनाएको भवनमा चलाइएको छ । उता चीन पक्षका अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार संरचना अन्तिम चरणमा पुर्‍याइसकेका छन् । अन्य संरचना पनि बनाएका छन् ।

मानसरोवरको धोको
भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउजाउ गर्थे । यसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका बन्द भएपछि यो बाटो भएर भारतलगायत अन्य मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन् । भूकम्प र भोटेकोसी बाढीपछि बर्सेनि ठूलो संख्यामा तातोपानी धारा नुवाउन आउने आन्तरिक पर्यटकको संख्याको भारी गिरावट छ । सरोकारवाला सबैले तातोपानीबाट तिब्बतको कैलाश मानसरोवर जान पनि नेपाल सरकारमार्फत चीन सरकारसँग कूटनीतिक संवाद जारी राखेका छन् ।

 

अर्थ वाणिज्य

अब वायुसेवा खोल्न तीन जहाज अनिवार्य

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपालमा अब वायुसेवा कम्पनी स्थापना गर्न न्यूनतम तीन जहाज हुनैपर्ने भएको छ । वायुसेवा सञ्चालन प्रमाणपत्र निर्देशिका (एओसीआर) संशोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अब नेपालमा दर्ता हुने वायुसेवा (हेलिकप्टर वा फिक्स्ड विङ (जहाज) उडाउने कम्पनीले न्यूनतम तीन वायुयान राख्नैपर्ने भएको छ ।
‘अहिलेसम्म एउटा हेलिकप्टर वा जहाजबाट वायुसेवा कम्पनी दर्ता हुने नियम थियो,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘अब नयाँ दर्ता हुदा तीन हेलिकप्टर वा जहाज हुनैपर्नेछ । नत्र वायुसेवा दर्ता हुनेछैन ।’ एओसीआरको १०औं संशोधनबाट यो नियम लागु गरिएको उनले बताए । अहिले आन्तरिक उडानमा १२ वटा रोटर (हेलिकोप्टर) र ९ वया फिक्स्ड विङ एयरक्राफ्ट (जहाज) कम्पनी रहेको प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले जनाएको छ । यीमध्ये एक वा दुई मात्रै वायुयान भएका हेलिकप्टर कम्पनी ५ छन् भने दुइटा मात्रै जहाज भएको वायुसेवा कम्पनी एउटा छ ।
पुराना कम्पनीलाई प्राधिकरणले तत्काल न्यूनतम जहाजको संख्या तीन पुर्‍याउनुपर्ने भनेको छैन । तर कम संख्यामा जहाज भएका कम्पनीलाई मर्जरका लागि बाटो खुला गरिदिएको छ । ‘हामीले वायुसेवा कम्पनीलाई मर्जरमा जान नीतिगत बाटो पनि खुला गरिदिएका छौं,’ प्रवक्ता निरौलाले भने, ‘तर ५ वर्षभित्र सबै नेपाली वायुसेवा कम्पनीसँग न्यूनतम ५ वटा जहाज हुनैपर्नेछ ।’
एक/दुई जहाज मात्रै सञ्चालन गर्ने वायुसेवा कम्पनीमा उडान सुरक्षामा लापरबाही हुने, दक्ष जनशक्ति अभाव भइरहने, कमजोर आर्थिक अवस्थाका कारण वायुसेवा कम्पनीले उडान सुरक्षा परिपालना गर्न नसक्नेलगायत कारणले जहाजको न्यूनतम संख्या तोक्नुपरेको प्राधिकरणले जनाएको छ ।

हवाई टिकटमा भ्याट लगाउने बाटो खुल्यो
यसैबीच सर्वोच्च अदालतले अल्पकालीन आदेशलाई निरन्तरता नदिएसँगै अब हवाई यात्रुले टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले साउन १४ मा जारी अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएको हो ।
सरकारले बजेटमार्फत हवाई टिकटमा १३ प्रतिशत भ्याट लागु गर्ने निर्णय गरेपछि हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेलगायत कारण देखाउँदै ३ हजारभन्दा बढी ट्राभल तथा टुर अपरेटरहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको थियो ।
नेपालमा कोभिडपछि वार्षिक कम्तीमा ५० अर्ब रुपैयाँ बराबरको हवाई टिकट कारोबार भएको अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको तथ्यांक छ । आर्थिक मन्दीले प्रभावित अर्थतन्त्रमा राजस्व बढाउने मात्र उद्देश्यले सरकारले हवाई टिकटमा एकमुस्ट १३ प्रतिशत भ्याट ल्याएको व्यवसायीको आरोप छ ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


भीजीले थाल्यो जीडब्लूएमको ओरा ३ बिक्री
काठमाडौं (कास)– जीडब्लूएम सवारीको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले नेपालमा विद्युतीय क्रसओभर ओरा ३ बिक्री सुरु गरेको छ । जीडब्लूएमले ओरा ३ का लागि जेठ ३ मा बुकिङ खुला गरेको थियो । ‘बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरका लागि ग्राहकबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ,’ भीजी इम्पेक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जरजस्ता आधुनिक सुविधासहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकले मन पराइरहेको कम्पनीले जनाएको छ । ओरा ३ मा ४८ किलोवाट ब्याट्रीको साथ ४०० किलोमिटर एनईडीसी प्रभावशाली ड्राइभिङ रेन्ज रहेको कम्पनीको दाबी छ ।

आइतबारदेखि केटीएम एक्सचेन्ज क्याम्प
काठमाडौं (कास)– केटीएम एक्सचेन्ज क्याम्प आइतबारदेखि हुने भएको छ । नक्साल सोरुममा छ दिन सञ्चालन हुने एक्सचेन्ज क्याम्पमा मोटरसाइकल पारखीका लागि एउटा रोमाञ्चक घोषणा हुने कम्पनीले जनाएको छ । ‘ग्राहकलाई कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा मोटरसाइकललाई नयाँसँग साट्ने सुविधा प्रदान गरिनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यहाँ पुरानो मोटरसाइकलको मूल्यांकन पाइराखेको भन्दा १५ हजार अतिरिक्त प्रदान गरिनेछ ।’ नयाँ मोटरसाइकल किन्नेका लागि पनि ५० प्रतिशत डाउनपेमेन्ट गरी केवल ९.९९ प्रतिशत मात्र ब्याजमा फाइनान्सिङ सुविधा छ ।

विद्युतीय प्रदर्शनी मेला सुरु
काठमाडौं (कास)– विद्युतीय सवारी तथा सामग्रीबारे जानकारी गराउने उद्देश्यले भृकुटीमण्डपमा ‘नेपाल ईभी तथा नेपाल पावर लाइट एन्ड इलेक्ट्रोनिक प्रदर्शनी’ सुरु भएको छ । तीन दिन चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष छन् । प्रदर्शनीमा विद्युतीय कार, स्कुटर, मोटरसाइकल, साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता छ ।

सन नेपाल लाइफको आईपीओ बाँडफाँट
काठमाडौं (कास)– सन नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर आईपीओ बाँडफाँट भएको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफको आईपीओ खुला भएको थियो । १४ लाख ६६ हजार ८६२ आवेदकमध्ये गोलाप्रथाबाट ७ लाख ६८ हजारले १० कित्ताका दरले पाएका छन् । कम्पनीले सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता साधारण सेयर साउन ३२ देखि भदौ ४ सम्म सर्वसाधारणका लागि बिक्री खुलाएको थियो । उक्त सेयरको बाँडफाँट शुक्रबार भएको हो । कम्पनीले यसअघि ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।

नेपाल बैंक र एडीबीबीच व्यापार सम्झौता
काठमाडौं (कास)– नेपाल बैंकले एसियाली विकास बैंक (एडीबी) सँग व्यापार वित्तीय क्षमता अभिवृद्धिसम्बन्धी सम्झौता गरेको छ । एडीबीको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौतामा एडीबीको ट्रेड एन्ड सप्लाई चेन फाइनान्सका प्रमुख स्टिभन बेक र नेपाल बैंकका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे । ‘कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार तथा विकासलाई टेवा पुर्‍याउनेछ,’ नेपाल बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बजारमा स्कोडाको कुसाक ॅमोन्टे कार्लो’ एडिसन
काठमाडौं (कास)– युरोपेली कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जे प्रालिले नेपाली बजारमा कुसाकको ‘मोन्टे कार्लो’ एडिसन ल्याएको छ । एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले स्पोर्टी लुक्स रुचाउने जोकोहीको छनोटमा यो गाडी पर्ने दाबी गरे । ‘युरोपेली स्टाइल यो गाडीमा झल्किएको छ,’ उनले भने, ‘मोन्टे कार्लोमा स्पोर्ट र्‍यालीको विरासत बोकेको र रोमाञ्चक मोटरिङमा समर्पित युरोपेली ब्रान्डको अनुभव गर्न सकिन्छ ।’ यो गाडी दुई रङ ‘टोनार्डो रेड’ र ‘क्यान्डी ह्वाइट’ मा उपलब्ध हुनेछ । यसमा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टीएसआई इन्जिन छ, जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । नेपालमा कुसाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’ को मूल्य ७१ लाख ९० हजार रुपैयाँ र ‘अटोमेटिक ट्रान्समिसन’ को ७९ लाख ९० हजार तोकिएको छ ।

Page 7
समाचार

'दर्जनौं स्रष्टा एकैचोटि कानुनी उपचार खोज्दै छन्’

- कान्तिपुर संवाददाता

राज्यले लगानी गरेर रेडियो नेपालमा रेकर्ड गरेका गीत राज्यकै मातहतमा आउनुपर्छ भनेर आवाज उठाउनेमा गीतकार
महेश आचार्य पनि पर्छन् । स्रष्टा अधिकार र सरोकारको विषयमा प्रस्ट र खरो मत राख्ने आचार्यसाग गरिएको कुराकानी :

हालै मात्र रेडियो प्रसारक संघ र स्रष्टाबीच विवाद चर्किएको थियो, यसको अन्तरवस्तु के हो ?
रेडियो प्रसारक संघ र स्रष्टाबीचको विवाद रोयल्टीको विषयलाई लिएर उब्जिएको हो । रेडियोहरूले १५ वर्षदेखि रोयल्टी नतिरेको अवस्थामा रोयल्टी संकलन समाजका वर्तमान अध्यक्ष सुरेश अधिकारीले सो विषयबारे फेसबुकमा आक्रोश पोखेर लेखेको अभिव्यक्तिलाई लिएर उहाँका गीत रेडियोमा प्रतिबन्ध गर्छौं र रोयल्टी संकलन र वितरण सरकारी तवरबाटै व्यवस्था नभएसम्म रोयल्टी तिर्दैनौं भनेर संघले विज्ञप्ति निकालेको हो । त्यसपछि गीत–संगीतका सबै संघसंस्थाले रोयल्टी नतिर्ने भए गीत नबजाउन र स्रष्टाको गीत प्रतिबन्ध नलगाउन आग्रह गर्दै संयुक्त विज्ञप्ति निकाले ।
रेडियो प्रसारक संघले राखेको मूल मागप्रति तपाईंको भनाइ के छ ?
रेडियोहरूले यो वा त्यो बहानामा रोयल्टी तिर्दैनौं भन्नु राज्य र नेपालको कानुनलाई नै चुनौती दिएको बुझ्नुपर्छ । तर, रेडियो प्रसारक संघले रोयल्टी संकलन र वितरण सरकारी तवरबाटै हुनुपर्छ भनेर यो सन्दर्भलाई विषयान्तर गर्न बोलेजस्तो लाग्छ । यद्यपि यो विषय सरकारको जिम्मेवारी नै हो । रोयल्टी संकलन र वितरण पारदर्शी र स्रष्टामैत्री हुनुपर्छ भन्नेमा कसैको दुई मत छैन ।
कपिराइटका कुरा बेलाबेला उठिरहन्छन् । तर, स्रष्टाहरू कानुनी अधिकारका लागि लड्न हतपत तयार देखिन्नन् नि ?
स्रष्टा अधिकार हननका घटना प्रायः सहमतिमा टुंगिएर, स्रष्टाले बेवास्ता गरेर, तालुकदार संस्थाले नजरअन्दाज गरेर अनि कानुनी उपचारबारे थाहा नभएर न्यायसम्पादन भएको छैन । अन्यायमा परेर मुद्दामा जाने सवालमा चाहिँ नेपालमा आजसम्म पर्ख र हेरको अवस्था देख्छु । फलानो मुद्दाको के हुन्छ अनि मात्रै मेरो मुद्दा दर्ता गर्छु भनेर उहाँहरू बस्नुभएको छ । प्रतिलिपि अधिकार हननका घटना एक–दुई वटा मात्र अदालतसम्म पुगेका छन्, अन्य मुद्दा आपसी सहमतिमा टुंगिएका छन् ।
यो त ममाथि अझ बढी अन्याय भइरहोस् भनेर बसेजस्तो भएन र ?
किन मुद्दामै जानु भन्ने स्रष्टाहरूको सहनशील स्वभावका कारण पनि होला । यस्तै प्रकरणमा अदालत प्रवेश गरेका मुद्दाहरूको फैसला आइनसकेको भएर पनि यस्तो भएको देखिन्छ । हिजोआज विभिन्न गीत, चलचित्र र रियालिटी शोमा प्रस्तुत भएका गीतसमेत डाउनलोड गरेर सानो–सानो टुक्रा बनाएर टिकटकमा हाल्ने चलन बढेको छ । त्यो गलत हो । एउटा गीत बन्न लाखौं अनि चलचित्र बन्न करोडौंको लगानी परेको हुन्छ । अर्काको सम्पत्ति आफ्नोसरह प्रयोग गर्नु हुन्न । यस्तो घटनामा बिगो र क्षतिपूर्तिसहित जेलसमेत जानुपर्ने हुन सक्छ भन्ने थाहा नभएर हो । अब दर्जनौं स्रष्टाले एकैचोटि कानुनी उपचार खोज्दै हुनुहुन्छ । प्रतिलिपि अधिकार हननको क्षेत्रमा अब यो अन्याय, बलमिच्याइँ अनि हेपाहा प्रवृत्तिको अन्त्य हुँदै छ ।
स्रष्टाको बौद्धिक सम्पत्ति रक्षाका लागि नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको कामकारबाही कस्तो पाउनुहुन्छ ?
हामीले गीतकार संघ र संगीतकार संघ मिलेर विगतमा स्रष्टा अधिकार हनन भएकै कारण प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा पटक–पटक उजुरी दिएका थियौं, जसको कुनै सुनुवाइ भएन । दुवै संस्थाको कार्यसमिति र अग्रज स्रष्टाहरूको समन्वयमा बारम्बार डेलिगेसन पनि गयौं । हामी अन्यायमा परे पनि अदालत जान सकेनौं किनकि स्रष्टा अधिकारको रक्षा र दोषीलाई कारबाहीका लागि पहिलो तालुकदार संस्था भनेकै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय हो । तर, उसैले कुनै चासो देखाएन ।
नेपालमा संगीत रोयल्टीको अवस्था कस्तो छ ?
रोयल्टी संकलन समाजको विधान परिच्छेद–८ को ३३ नम्बर बुँदाअनुसार संकलित रोयल्टीको २५ प्रतिशत मात्र व्यवस्थापन खर्च गर्न पाउँछ भने बाँकी ७५ प्रतिशत सम्बन्धित स्रष्टालाई दिनुपर्छ । तर संस्थाले आफ्नो आर्थिक प्रतिवेदनमै सोभन्दा बढी खर्च गरेको उल्लेख गरेको छ । त्यो सिधै भ्रष्टाचार हो । अर्को कुरा, वितरित रोयल्टीको कुरा गर्ने हो भने त्यो रोयल्टी स्रष्टाको कुन–कुन सिर्जनाले कुन–कुन स्रोतबाट कति कमाएको हो, उल्लेख नगरी बाँडिएको छ । रोयल्टी संकलन र वितरण पारदर्शी हुनुपर्छ । स्रष्टाहरूको चित्तदुखाइ यसमा हो ।
यसको दीर्घकालीन समाधानचाहिँ के हुन सक्छ ?
रोयल्टी मात्र होइन, नेपाली गीत–संगीत क्षेत्रकै समग्र विकास र समस्याको दीर्घकालीन समाधानका लागि संगीत विकास बोर्ड गठन हुनुपर्छ, जसअन्तर्गत सेन्ट्रल सर्भरको स्थापना हुनुपर्छ । यति भयो भने नेपाली गीत एकद्वार प्रणालीबाट सार्वजनिक प्रयोगमा जानेछन् । यसो गर्दा दीर्घकालीन समाधान हुन्छ र सेन्ट्रल सर्भरमार्फत गीतको सार्वजनिक प्रयोग हुने भएकाले रोयल्टी संकलन पारदर्शी हुन्छ । नेपाली गीत–संगीतको समग्र विकास, अन्तर्राष्ट्रियस्तरमा प्रोमोसन, रोयल्टी व्यवस्थापन, विकृति नियन्त्रण, गुणस्तर कायमलगायतका सम्पूर्ण कार्य गर्ने संस्था नै संगीत विकास बोर्ड हुनुपर्छ । यसमा संगीत रोयल्टी संकलन र वितरण, प्रतिलिपि अधिकार संरक्षणजस्ता अंगहरू बनाउन सकिन्छ ।
विभिन्न डिजिटल प्लेटफर्ममा गइसकेका गीतको हकमा के हुन्छ ?
यो चुनौतीको विषय भए पनि सरकारले आवश्यक कानुन बनाएर बाध्यकारी बनाउन सक्छ । साथै विभिन्न डिजिटल प्लेटफर्ममा गइसकेका गीतलाई पनि उत्पादकसँग सहमति गरेर सेन्ट्रल सर्भरमा राख्नुपर्छ । यसका लागि उत्पादकसँग सहमति गरेर गीतका लिंकमार्फत सर्भरमा जोडेर सबैलाई लाभ पुग्ने गरी काम गर्नुपर्छ । यसलाई सूचना र प्रविधिका इन्जिनियरले सबैको अधिकार जोगिने र सबैलाई फाइदा पुग्ने गरी बनाउन सक्छन् ।
तपाईंहरूको अभियानको मूल पाटो म्युजिक कम्पनीविरुद्ध जस्तो देखिन्छ, के म्युजिक कम्पनीबिना नेपाली गीत–संगीत उँभो लाग्न सम्भव छ त ?
हामीले सबै म्युजिक कम्पनीको विरोध गरेका छैनौं । गीत–संगीतको स्तरीयकरण, विश्वव्यापीकरण र लगानीका हिसाबले म्युजिक कम्पनी चाहिन्छन् । तर, हामी म्युजिक कम्पनीहरूलाई भन्छौं– स्रष्टालाई राम्रोसँग बुझाएर मात्र सम्झौता गर्नुस्, सर्जकको अनुमतिबिना उनीहरूको सिर्जना प्रयोग नगर्नुस्, एउटा सम्झौता र काम अर्को नगर्नुस्, सम्झौता सकिएपछि स्रष्टा र उत्पादकलाई उसको सिर्जना बिनाआनाकानी तुरुन्त फिर्ता दिनुस् । स्रष्टा र उत्पादकलाई रोयल्टी र आम्दानी दिँदा त्यसको सम्पूर्ण विवरणसहित दिनुस्, राज्यले लगानी गरेका गीत चोरेर लगेकामा ती गीतको एकमुष्ट आम्दानी, बिगो र क्षतिपूर्तिसहित राज्यलाई नै अविलम्ब फिर्ता गर्नुस् र कानुनी सजायको भागीदार हुनुस् ।

Page 8
खेलकुद

मोन्टी र द्रविड आमनेसामने

- विनोद पाण्डे

(कोलम्बो)
नेपाल र भारत सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कप क्रिकेटमा आमनेसामने हुँदा मोन्टी देसाई र राहुल द्रविड फेरि एकपल्ट मैदानमा सँगै हुनेछन् । द्रविड प्रशिक्षक रहेको भारत एकरुपको प्रदर्शन गर्ने दाउमा छ भने मोन्टीले नेपाललाई टेस्ट राष्ट्रको अनुभव गराइरहेका छन् ।
एक समय द्रविड र मोन्टी दुवै सन् २०१२ तिर इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थानमा थिए । द्रविड टोलीका कप्तान एवं प्रशिक्षक थिए । मोन्टी राजस्थान रोयल्सका प्रशिक्षक एवं ट्यालेन्ट स्काउट थिए । द्रविड र मोन्टीको यही साझेदारीका क्रममा नेपाली क्रिकेटका सदाबहार खेलाडी शक्ति गौचन राजस्थानमा ट्रायल दिनका लागि पुगेका थिए ।
नेपालका तत्कालीन प्रशिक्षक पुबुदु दासानायके र मोन्टीको सम्बन्ध धेरै राम्रो थियो । विगतमा पनि दुवै क्यानडाका प्रशिक्षक थिए । त्यही आधारमा शक्तिलाई राजस्थान रोयल्समा ट्रायलमा जान सजिलो भएको थियो । दुबईमा २०१२ को ट्वान्टी २० विश्वकप छनोटमा शक्तिले डेनमार्कविरुद्ध ह्याट्रिकसहित ४ विकेट लिएका थिए । तर, मोन्टी प्रभावित भएको भने नेपाल र क्यानडाबीचको खेलबाटै हो, जहाँ शक्तिले ओपनिङमा बलिङमा ओपनर एवं कप्तान रिजवान चिमालाई बोल्ड गरेका थिए ।
‘त्यतिखेर नयाँ बल फाल्न देब्रेहाते स्पिनरको लहर थियो । केही नयाँ हुनसक्छ भनेर पुबुदु सरले मोन्टी सरलाई मेरो सिफारिस गरिदिनुभयो । सम्भवतः मेरोबारेमा राहुल द्रविडसँग कुरा भइसकेको रहेछ । उहाँले एक पटक राजस्थानमा लिएर आऊ त्यसपछि निर्णय गरौंला भन्नुभएको थियो । म अलिकति ढिलो पुगेको थिएँ, ९० प्रतिशत छनोट भइसकेको थियो,’ शक्तिले राजस्थान रोयल्ससम्मको यात्रा स्मरण गरे ।
गुजरात लायन्सको प्रशिक्षण टोलीमा पनि रहेका मोन्टी अफगानिस्तान र वेस्ट इन्डिजका ब्याटिङ प्रशिक्षक रहे । त्यसपछि उनी फेब्रुअरीयता नेपालको प्रशिक्षक छन् । धरापको स्थितिबाट नेपालको विश्वकप लिग २ यात्रालाई विश्वकप छनोटसम्म पुर्‍याएका मोन्टीले एसिया कप खेलाउनु नेपाली क्रिकेटको अर्को ठूलो सफलता हो ।
आईपीएलमा अर्को टोली गुजरात लायन्समा आबद्ध द्रविड २०२१ को नोभेम्बरयता भारतको प्रशिक्षक छन् । सन् २०१६ र २०१८ मा द्रविडकै प्रशिक्षणमा भारत
यू–१९ विश्वकप खेलेको थियो । सन् २०१६ मा फाइनलमा पुगेको भारतले २०१८ मा अस्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि भारतको नेसनल क्रिकेट एकेडेमी हुँदै उनी भारतीय राष्ट्रिय टोलीको प्रशिक्षकमा पुगेका हुन् ।
द्रविडले यू–१९ मा सबैभन्दा तीतो अनुभव पनि बटुले नेपाल र मोन्टीकै कारण । भारत २०१७ मा मलेसियामा भएको एसीसी यू–१९ एसिया कपमा नेपालसँग १९ रनले पराजित भयो । भारतमाथि नेपाललाई कुनै संरचनामा विजय दिलाउनेक्रममा दीपेन्द्रसिंह ऐरीले ८८ रन बनाउनुका साथै ४ विकेट लिएका थिए ।
नेपालको प्रशिक्षकमा विनोद दास थिए भने ब्याटिङ प्रशिक्षक उनै मोन्टी थिए । नेपाली टोलीको अनुरोधमा द्रविडले नेपाली ड्रेसिङ रूममै पुगेर बधाईसँगै आफ्नो अनुभव बाँडेका थिए ।
त्यसपछि द्रविड र मोन्टी पहिलो पटक अहिले आमनेसामने हुँदै छन् । द्रविडको प्रशिक्षणमा भारतले
आफ्नो छविअनुरुप प्रदर्शन देखाउन सकेको छैन । उनीमाथि केही दबाब देखिन्छ । तर आफ्नो खेलजीवनमा जस्तै द्रविड शान्त स्वभावका छन् । आक्रामक स्वभाव उनले प्रशिक्षणमा पनि देखाएका छैनन् ।
शक्तिले राजस्थानमा मोन्टी र द्रविडको राम्रो कम्बिनेसन्स देखेका थिएँ । मोन्टी राजस्थानको प्रशिक्षण टोलीमा हुनुका साथै टिम बिल्डअप भूमिकामा पनि थिए । टिम बिल्डअपमा द्रविड र मोन्टीको कुरा भइरहेको हुन्थ्यो । शक्तिले सुनाए, ‘दुवै जना एकदमै सामान्य र शान्त व्यक्तित्व हुन् । केही गलत भयो भने पनि द्रविड रिसाएको मैले कहिल्यै देखिनँ । माथिल्लो स्तरमा त्यस्तो व्यवहार भएको कसैको हुन्छन् जस्तो पनि लाग्दैन ।’
त्यो समयमा शक्ति र नेपाली क्रिकेटलाई राजस्थानसम्म पुग्नु नै ठूलो थियो । मोन्टीले जुन अनुभव शक्तिलाई राजस्थामा दिए, त्यो अहिले मनन गर्दा उनलाई अविश्वसनीय लाग्छ । राजस्थानको नेट्समा शक्तिलाई मोन्टीले एकदमै सहयोग गर्दै नयाँ बलमा उनलाई उत्साहित पार्ने गर्थे ।
‘द्रविड प्रायः नयाँ बल खेल्न आउँथे अगाडि । द्रविड, अजिन्क्या राहने, ब्राड हजसहित माथिल्लोक्रमका ब्याटर नयाँ बलले खेल्न खोज्थे । मेरो बलिङ शैली अलिकित फरक थियो र त्यो फिल आओस् भनेर मेरो बल उनीहरू एकदमै खेल्न खोज्थे,’ शक्तिले मोन्टीसँगको अनुभवबारे भने, ‘मैले नेट्समा राहुल द्रविडलाई बोल्ड गरेको थिएँ । उनले स्विप हान्न खोजे, तर बल छिरिहाल्यो । उनले पछि यही शटमा सुधार गरेका थिए । अलि पछिको बलमा स्टम्प पनि गरेको थिएँ । तर द्रविड त्यत्ति नेट्स गर्दैनथे । मलाईचाहिँ बोलाएर बलिङ गर्न लगाउँथे । यो स्तरमा मेरो अनुभव थिएन, त्यही भएर एउटा डर चाहिँ थियो । त्यो अनुभवले मलाई परिपक्व बनायो । एउटा नराम्रो बलमा जसले पनि प्रहार गर्न सक्छ, तर एउटा राम्रो बलमा कसैले हान्न सक्दैन भन्ने बुझेको थिएँ । बलरले बल कसरी फाल्छ त्यो महत्त्वपूर्ण हुने बुझेको थिएँ ।’
सन् २०१२ मा शक्तिले मोन्टीलाई एकदमै शान्त व्यक्तिको रूपमा पाएका थिए भने २०१५ मा झन नजिक हुन पाएँ, जतिखेर मोन्टी नेदरल्यान्ड्स भ्रमणको चार
ट्वान्टी–२० शृंखला र आयरल्यान्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा नेपालको ब्याटिङ कन्सल्ट्यान्ट भएर आएका थिए ।
‘स्पिनमा भेरिएसन राख्नुपर्छ भनेर भन्नुहुन्थ्यो । निकै सहयोगी हुनुहुन्थ्यो र निकै मोटिभेट गर्नुहुन्थ्यो । एक पटक वसन्त (रेग्मी) र मलाई उहाँले ८–१० खेलदेखि निगरानी गरिरहनुभएको थियो । त्यसपछि एक पटक हामीलाई जनही १ सय डलर जति दिनुभयो । मध्य ओभरमा मैले यति उत्कृष्ट बलिङ जोडी देखेको थिइनँ भनेर भन्नुभयो । पैसा दिन भनेर होइन कि तारिफ गरेर हामीलाई उत्साह दिनु विशेष थियो,’ मोन्टीको तारिफमा शक्ति भन्दैथिए ।
आफ्नो खेलजीवनको सुरुआत माथिल्लोक्रमको ब्याटर रहेका शक्ति उत्तरार्द्धमा भने तल्लोक्रमको ब्याटिङमा झरिसकेका थिए । तल्लोक्रममा ब्याटिङ गर्ने तथा अगाडि आएको बल र शर्ट बलमा समस्या छ भनेर शक्तिले आफ्नो कमजोरी मोन्टीसँग राखेका थिए । माथिबाट बलरले बल रिलिज गर्छ भने त्यो अगाडि आउँछ, तलबाट बलरले बल रिलिज गर्छ भन्ने शर्ट पिच आउँछ, तिमी बलरको हात हेरेर खेल्नुपर्छ भनेर आफूलाई सुझाएको शक्ति सम्झन्छन् । उनले भने, ‘त्यसले मेरो ब्याटिङमा धेरै सुधार भएको थियो र अन्तिम अन्तिमतिर धेरै पटक महत्त्वपूर्ण साझेदारी गरेको थिएँ । त्यतिखेर साइडआर्म पनि खासै थिएन, नयाँ बल लिएर मोन्टी सर आफैंले मलाई तीव्र गतिमा २० मिनेटजति बल फाल्नुभएको थियो ।’
शक्ति गौचनकै उत्पादन हुन् कुशल मल्ल । मोन्टी नेपालको प्रशिक्षक भएर आएपछि कुशलले राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । त्यसैले शक्ति यसको सबै श्रेय मोन्टीलाई दिन्छन् । उनले थपे, ‘एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राखेपछि उहाँले सबै मिलेर जानुपर्छ भन्नुभएको थियो । जे भयो त्यसलाई छाडेर अब अगाडि बढ्नुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो ।’ एउटा टिम बनेर जाँदा जसले नेपाली क्रिकेटलाई एउटा दिशा दिन सकोस् भन्नेमा मोन्टी रहेको शक्ति सुनाउँछन् ।
रूपन्देहीको तिलोत्तमा अस्ट्रेलियामा अवस्थित एक्स्ट्राटेक कम्पनीले जेठमा रंगशाला बनाउने घोषणा गरेको थियो । शक्ति निर्माण सुरु हुन लागेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाका ब्रान्ड एम्बासडर हुन् । अहिले एक्स्ट्राटेकले शक्ति र उनकी श्रीमती कवितालाई भारत र नेपालबीचको खेल हेर्न श्रीलंका ल्याएको छ । शक्ति उक्त खेलसँगै
आफ्नो ध्यान डगआउटमा रहने द्रविड र मोन्टीको शालीनतामा पनि केन्द्रित हुने बताउँछन् ।

खेलकुद

पारस वाग्मती प्रदेश अध्यक्ष निर्वाचित

- कान्तिपुर संवाददाता

(काठमाडौं)
राष्ट्रिय क्रिकट टोलीका पूर्वकप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । उनी शुक्रबार आयोजित निर्वाचनमा उमेश पियालाई ९ मतले पराजित गर्दै प्रदेश अध्यक्ष चुनिए ।
काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य भएपछि प्रदेशका ६ जिल्ला संघमध्ये चार जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर) को समर्थनमा वाग्मती प्रदेश अध्यक्षमा उम्मेद्वारी दिएका पारसले २३ मत प्राप्त गरे भने पियाले १४ मतमात्रै पाए ।
नेपाल क्रिकेट संघको निर्वाचन असोजमा हुँदै छ, जसमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वमा दोहोरिन चाहन्छन् भने कोषाध्यक्ष रोशन सिंह अध्यक्षमा चन्दलाई चुनौती दिने तयारीमा छन् । यसबीच काठाडौं जिल्ला संघका अध्यक्ष दिवाकर घलेसँगको समन्वयमा पारस खड्का समूह पनि बलियो बनेको छ ।
जिल्लादेखि प्रदेश निर्वाचनमा चन्द–खड्का समूह एकसाथ उभिएको छ । त्यो समूहलाई सिंह समूहले चुनौती दिइरहेको छ । यसको प्रत्यक्ष प्रभाव वाग्मती प्रदेश संघको निर्वाचनमा देखियो ।
बागमती प्रदेशको १३ सदस्यीय कार्यसमितिको निर्वाचनमा चन्द–खड्का प्यानलबाट १२ जनाले
उम्मेद्वारी दिएका थिए । उनीहरू सबैले कुल ३७ मतमध्ये २३ मत प्राप्त गर्दै जित हात पारे । सिंह पक्षबाट एक सदस्यमात्रै चुनिए । त्यसमा अनुजमान श्रेष्ठ (नुवाकोट) रहे । कार्यसमितिमा प्रत्येक जिल्लाको प्रतिनिधित्व हुनुपर्ने प्रावधानमा परेका उनी १६ मत पाएर पनि निर्वाचित भएका हुन् । चन्द–खड्का प्यानलबाट उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षत्री, सचिवमा ललितपुरका प्रशन्न शाक्य, कोषाध्यक्षमा भक्तपुरका सन्जय बस्नेत निर्वाचित भए ।
सदस्यमा अनिल अधिकारी (चितवन), सुजन महर्जन (ललितपुर), शेखर श्रेष्ठ (ललितपुर), सन्जोग पोखरेल (मकवानपुर), वसन्तराज सत्याल (काठमाडौं), धिरज श्रेष्ठ (मकवानपुर) र अजयवीर पाण्डे (काठमाडौं) चुनिए । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध भइन् । उनी राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान हुन् ।

 

खेलकुद

बहराइनमाथि १० विकेटको जित

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपालले वुमेन्स ट्वान्टी–२० विश्वकपअन्तर्गत एसियाली छनोटमा शुक्रबार बहराइनमाथि १० विकेटको एकपक्षीय जित निकालेको छ ।
जितनिम्ति ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो । नेपालको यो लगातार दोस्रो जित हो । टोलीको ४ अंक भएको छ । कविता मगरले तीन चौका प्रहार गर्दै १४ बलमा १७ रन गरिन् । सीता रानागमरले २ रन बनाइन् ।
नेपाल २.५ ओभरमा कुनै विकेट नगुमाई जितसम्म पुगेको थियो । त्यसअघि बहराइन १५.४ ओभरमा ३१ रन बनाएर अलआउट भयो । रसनगिका हेराथले ११ रन बनाइन् । उनी नै दोहोरो अंक छुने एकमात्र ब्याटर रहिन् । नेपाली बलरमध्ये इन्दु बर्माले ५ रनमा ३ र खुशी डंगोलले कुनै रन नदिई २ विकेट लिए । कविता, पूजा महतो र रुबिना क्षेत्रीले पनि १–१ विकेट हात पारे ।

खेलकुद

इलामको रेडहर्स सेमिफाइनलमा

- कान्तिपुर संवाददाता


ताप्लेजुङ (कास)– फुङलिङमा भइरहेको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलबाट रेडहर्स फुटबल क्लब इलाम सेमिफाइनल पुगेको छ । टोलीले शुक्रबार गोर्खा स्पोर्टिङ क्लब दमकलाई २–० ले पराजित गरेको हो । इलामका फरवार्ड युवराज राईले खेलको १० औं मिनेटमै गोल गरेका थिए । उनी एपीएफ क्लबका खेलाडी हुन् । खेलको ५९ औं मिनेटमा आशिष राईले दोस्रो गोल थपे । उनले काउन्टर एट्याक आफ्नै टिमका गोलरक्षक विवेक मगरले हानेको बल नियन्त्रणमा लिँदै गोल गरे । थ्रीस्टार क्लबबाट खेल्ने आशिष म्यान अफ द म्याच भए ।
आइभोरी कोस्टका फोफना इब्राहिम र घानाका रिचार्ड विल्सनसहित विदेशी तथा राष्ट्रिय टोलीमा आबद्ध खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा दमकविरुद्ध इलामले पटक–पटक आक्रमण गरेको थियो । शनिबार फिदिम स्पोर्टिङ क्लब पाॅचथर र पथरी ११ फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा जुट विकास फुटबल एकेडेमी इटहरी विजयी भएको थियो ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


विश्व भारोत्तोलनमा नेपालका ५ खेलाडी
काठमाडौं (कास)– नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । भदौ १७ देखि ३१ सम्म रियादमा हुने आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ पुरुष र २ महिला खेलाडीले भाग लिनेछन् । पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । महिला ५५ केजीमा टीकामाया गुरुङ र ६४ केजीमा शारदा चौधरीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । गुप्त शुक्रबारै रियाद गइसकेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन रियाद जानेछन् । व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ रियाद जाने छन् । सेप्टेम्बर ८ मा विशाल र विकास रियाद उड्नेछन् ।
कठिन समूहमा पीएसजी
लन्डन (एपी)– युरोपेली च्याम्पियन्स लिग फुटबलको नयाँ
सिजनको ‘ड्र’ बिहीबार सार्वजनिक गरिएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ‘ग्रुप अफ डेथ’ मा परेको छ । समूह ‘एफ’ मा पीएसजीसँगै बोरुसिया डर्टमन्ड, एसी मिलान र न्युकासल युनाइटेड छन् । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी समूह ‘जी’ मा छ । टोलीका प्रतिद्वन्द्वीमा आरबी लाइप्जिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज छन् । समूह ‘ए’ मा बायर्न म्युनिख, म्यानचेस्टर
युनाइटेड, एफसी कोपनहेगन र गालाटासारे, समूह ‘बी’ मा सेभिया, आर्सनल, पीएसजी आइन्डहोभन र लेन्स तथा समूह ‘सी’ मा नेपोली, रियल म्याड्रिड, ब्राग र युनियन बर्लिन छन् । समूह ‘डी’ मा बेन्फिका, इन्टर मिलान, साल्सबर्ग र रियल सोसिडाड, समूह ‘ई’ मा फेयनर्उड, एट्लेटिको म्याड्रिड, लाजियो र सेल्टिक तथा
समूह ‘एच’ मा बार्सिलोना, एफसी पोर्टो, साख्तर डोनेस्क र रोयल एन्ट्रप छन् ।
हालान्ड र बोनमति वर्ष खेलाडी
लन्डन (एएफपी)– इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका इर्लिङ हाल्यान्ड र स्पेनकी आइतना बोनमति युरोपेली फुटबल वर्ष खेलाडी घोषित भएका छन् । बिहीबार राति उनीहरूलाई सन् २०२२–०२३ मा उत्कृष्ट प्रदर्शन गरेवापत यो अवार्ड दिइएको हो । हाल्यान्डको सानदार प्रदर्शन मदतमा सिटीले गत सिजन
युरोपेली च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जितेको थियो । उनले त्यस सिजन ५२ गोल गरे ।
बोनमतिको बलियो प्रदर्शन मदतमा स्पेनले हालै अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको महिला विश्वकप उपाधि जितेको थियो । उनले बार्सिलोनाका लागि महिला युरोपेली च्याम्पियन्स लिग पनि जितेकी थिइन् ।
जुनियर पौडी टोली इजरायल जाने
काठमाडौं (कास)– नेपाली पौडी खेलाडीले इजरायलको नेतन्यामा हुने एक्वाटिक वर्ल्ड जुनियर पौडी च्याम्पियनसिपमा भाग लिने भएका छन् । भदौ १८ देखि २३ सम्म हुने च्याम्पियनसिपमा ६ खेलाडीले भाग लिने भएका छन् । अजलकाजी ताम्राकार (५० मिटर बटरफ्लाई र फ्रिस्टायल), इर्भिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरफ्लाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) छन् । टोलीको व्यवस्थापकमा जेनिफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की छन् । शनिबार बिहान इजरायल जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष अशोक बज्राचार्यलगायतले बिदाइ गरे ।

Page 9
कोसेली

स्वरको सवारी

- कान्तिपुर संवाददाता

 

कोलकाताको रेलको फाटकबाट आफ्नो जीवनका लिकहरू सम्झिहोलिन् उनले । उस्ताद भगतकृष्णसँगको विवाह, चार सन्तानको जन्म, दुई पुत्रवियोग, चन्द्रशमशेर महाराजको आफूप्रतिको अनुराग, शुक्रराज शास्त्रीसँगको क्रान्तिकारी युगीन घनिष्ठता, आफूलाई डोकोमा बोकेर रुम्जाटारबाट राणा दरबारसम्म ल्याउने आफ्ना गुमनाम पिता अनि छोरीलाई दरबारकी स्वरसिंहिनी बनाउने सपना देखेकी आमा सप्तदेवी !
इलाहाबाद संगीत सम्मेलन – विसं १९८६ मा ‘ठुमरीकी रानी’ को पदवी पाएपछि मेलवादेवीले आफ्नो गायिकीलाई आफैं नजरान्दाज गर्ने मौका पाइन् र रचना तथा संगीत गर्दै स्वर भरिन्– सवारी मेरो रेलैमा ।
सानु र सानु लैलै कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि, सवारी मेरो रेलैमा !
यो एउटी नेपाली गायिकाको रचना, संगीत र स्वरको गीत मात्रै होइन, आजसम्मको इतिहासमा नेपाली संगीतमा शासकहरूबाट क्षमतावान् कलाकारलाई कसरी शोषण गरिन्थ्यो र देशनिकालासम्म गराउन बाध्य पारिन्थ्यो भन्ने एउटा उदाहरण पनि हो ।
झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि, सवारी मेरो रेलैमा
त्योभन्दा पहिले नसुनिएको नेपाली लोकलयमा आधारित शास्त्रीय–संगीत मिस्रित यस गीतमा शब्दको उत्कृष्टता त छँदै छ, संगीतको विशिटता अझ उच्च छ । लोकलयमा गीत बहँदै गर्दा बीचबीचमा आउने उनको शास्त्रीय गायनको तराना र मूर्छनाले गीतलाई अद्वितीय बनाइदिएको छ । संगीतका बुझक्कीहरू भन्छन्, ‘मेलवादेवी जत्तिको गायिकी र साधना लिएर आजसम्म पनि अर्की मेलवाको नेपाली संगीतमा जन्म हुन सकेको छैन ।’
‘सवारी मेरो रेलैमा’ नेपाली संगीत संसारकै एक उत्कृष्ट गीत हो । खेम्टा (६/८) तालमा बनाइएको यस गीतको आलाप भने त्रिताल (४/४) मा छ । मन्द्रदेखि तार सप्तकसम्मको रेन्जमा कम्पोज गरिएको यस गीतमा मेलवादेवीको आवाजमा ‘टेनर क्लेफ’ टोन छ । यस्तो टोनमा संगीतका १२ नोट र अन्य कलालाई सहजै प्रस्तुत गर्ने गुण हुन्छ । यस गीतबारे संगीतकार राजु सिंह भन्छन्, ‘मेलवादेवीको गायिकीमा यति शुद्धता छ कि मन्द्र सप्तकको तीव्र ‘म’ लाई पनि सावधानीपूर्वक शुद्ध स्वरमा गाइएको छ । शास्त्रीय गीतहरू प्रायः हार्मोनियमको कालो पर्दालाई आधार मानेर बनाइन्छ । यो गीत पनि त्यस्तै छ । बी फ्ल्याट माइनर स्केलमा कम्पोज गरिएको गीतमा हार्मोनी भने सी साफ मेजर नोटमा छ । पाश्चात्य गीतमा यस्तो कम्पोजिसन गाउन निकै कठिन हुन्छ । सेमी नोटहरू पनि निकै चल्ने हुनाले वाद्यवादकहरूलाई बजाउन पनि निकै कठिन हुन्छ । मेरो विचारमा मेलवादेवी यो भारत वर्षकै एक उत्कृष्ट गायिका हुन् र यो एउटा उत्कृष्ट गीत हो ।’
चन्द्रशमशेरको दरबारबाट बाहिरिँदा मनको बाघ र वनको बाघ, दुवैको सामना गर्दै कैयौं दिन लगाएर रेलको बाटो हुँदै उनी कोलकाता पुगेकी थिइन् । दुई पुत्र वियोगको व्यथालाई मुटुभित्र थुनेर गरिएको त्यो यात्रा चानचुने थिएन । देशबाट, देशको जंगलबाट एउटी कोइलीलाई धपाइँदै थियो– शासन, सत्ता र वैयक्तिक सम्बन्धहरूको आरोप लगाएर । दरबारमा कलाको सोख पूर्ति गर्न देशीभन्दा विदेशी कलाकारलाई निम्त्याउने राणा खलक स्तब्ध भएको थियो, उनको बहिर्गमनबाट । सुत्केरी भएकै महिना दिनपछि दुई चिचिला छोरीहरूलाई च्यापेर एउटी साहस र स्वरकी बघिनीको नेपाल बहिर्गमनले तत्कालीन समयमा खास अर्थ नराखे पनि अहिले भने मानक अर्थ राख्छ ।
नेपाली संगीतको सवा सय वर्ष र नारी गायन–रेकर्डिङको एक सय वर्ष पुग्नै लाग्दा नेपाली नारी गायिकीलाई खोतल्नैपर्ने हुन्छ । लोकगीत माटोको गीत हो । खोलाले गाउने भाका टिप्नलाई स्वरमा खास कसी लगाइराख्नु पर्दैन । हावाको सुस्याइ र चराको चिरिबिरीमा पनि लोकगीतले डाँडापाखा घन्काउन सकिन्छ । फेरि लोकगीत गाउन सकिन्छ भन्नुको तात्पर्य सजिलो छ भन्न खोजिएको होइन ।
जब कुनै गीतलाई, लयलाई शास्त्रीय नियममा बाँधेर बजागाजाका साथमा गाइन्छ, त्यहाँ पक्कै पनि सुर, ताल, लय, गति र यतिका नियमहरू लागू भइहाल्छन् ।
मेलवादेवीको स्वर जति सुरमा थियो, जीवन भने उत्तिकै बेसुर बन्यो । विसं १९५९ मा ओखलढुंगाको रुम्जाटार, चण्डीगाउँमा जन्मिएकी उनी आफ्नी आमा सप्तदेवी गुरुङको साथ लागेर ७ वर्षको उमेरमा चन्द्रशमशेरको दरबार पसेकी थिइन् । ‘लाहुर नगएको छोरो र दरबार नपसेकी छोरीको के काम’ भन्ने आहान प्रख्यात भएका बखत सप्तदेवीले छोरीलाई दरबारकी एक दलिन बनाउन सकिन्छ कि भन्ने सोचले डोकोमा बोकेर राणा दरबार भित्र्याएकी थिइन् । त्यति बेला सप्तदेवी दरबारमा काम गर्ने गुरुङ समुदायकी एक सुन्दर महिला थिइन् । जन्मजात कलामा दख्खल भएको गुरुङ खलककी मेलवादेवीमा पनि गायनको अद्भुत कला देखिएपछि महाराज चन्द्रशमशेरले ‘यी नानी त मित्रसेनभन्दा पनि तिखी रैछिन्, यिनलाई तिनीभन्दा ठूली गायिका बनाउनुपर्छ’ भन्दै दुई जोर छिटको धोती, चोलो र दुई दिनमा एक मोहोर बकस दिए । र, दुई वर्षका निम्ति सिंहदरबारको उत्तरपट्टिको सुसारे गृहमा आमाका साथमा बस्न थालिन् मेलवादेवी । त्यसपछि चन्द्रशमशेरकै निर्देशनमा उनले दरबारकै संगीतका उस्ताद ढुण्डे खाँ, गणपत, खेमचन्द्र, माधवप्रसाद र बालाप्रसाद शर्मासँग कलिलो उमेरदेखि नै
आफ्नो स्वर तिखार्ने मौका पाएकी थिइन् ।
१२ वर्षको उमेरबाट आफ्नो बालस्वरलाई दरबारको बैठकीमा दर्ज गराएर मेलवाले गायिकीमा तिनै उस्तादहरूको बाटो पछ्याइन्, जसले उनलाई अनवरत ७ वर्ष शास्त्रीय संगीत सिकाएका थिए । नेपाली भाषाका विरलै गीत भए पनि शास्त्रीय संगीतको रागमा आधारित गीतहरू महाराजहरूका बैठक र खोपीहरूमा बज्थे, सुनिन्थे । मेलवादेवी पनि राणा दरबारकी मूल गायिकामा दरिइन् ।
छोडी जाऊ, तोडी जाऊ, मायालाई फोडी
दुःख गर्नु, सुख गर्नु तिम्रै निम्ति गोरी
मिर्मिरे झ्यालैमा
आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा ।

रंग तिम्रो, ढंग तिम्रो देख्ता आफैं बसेँ
ज्यानै जावोस्, मानै जावोस्, लान कम्मर कसेँ
मिर्मिरे झ्यालैमा
आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा ।

सुकेको आवाजप्रति महाराजको मोह
स्वर, सुर र सुन्दरताले पूर्ण मेलवादेवीबाट चन्द्रशमशेर निकै प्रभावित थिए । चन्द्रशमशेरको हिमचिम मेलवादेवीसँग बढेपछि उनकी कान्छी रानी बालकुमारीदेवीमा रिसको पारो निकै चढ्यो र उनकै इसारामा मेलवादेवीलाई पानमा सिन्दूर राखेर खुवाइयो । त्यसपछि उनको स्वर भास्सियो । मेलवादेवीको धोद्रो स्वर मन नपरेपछि चन्द्रशमशेरले तुरुन्तै कोलकाताबाट सेन गुप्ता नाम गरेका बंगाली डाक्टर बोलाएर जाँच गराए । नाम चलेका नेपाली वैद्यले पनि हेरे । उनीहरू सबैले मेलवादेवीको स्वरको उपचार नेपाल मात्रै होइन, भारतमा पनि सम्भव नहुने बताएपछि चन्द्रशमशेरले बेलायतबाट घाँटी रोग विशेषज्ञ बोलाए । करिब दुई महिनाको उपचारपछि मेलवादेवीको स्वरमा केही सुधार त आयो, तर पहिलेको जस्तो सुमधुर हुन सकेन । मन्द्र र मध्य सप्तकसम्म खुल्ने स्वर तार सप्तकमा पुगेपछि सुकेर आवाज नै नआउने भयो । कसैको केही चीज मन पर्छ र गुनिलो लाग्छ भने जे पनि मन पर्न थाल्छ भनेझैं चन्द्रशमशेरले पनि मेलवादेवीको स्वरको तारिफ गर्न छाडेनन् । उनको सुकेको स्वरको तारिफमा चन्द्रशमशेर भन्ने गर्थे रे, ‘गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।’
चन्द्रशमशेरकालीन समयमा मेलवादेवीलाई खासगरी कुनै पुरुषले प्रत्यक्ष सम्पर्क गर्नु, प्रेम गर्नु र स्नेह देखाउनु भनेको बाघसँग कुस्ती खेल्नुसरह नै थियो । त्यस्तो अवस्थामा पनि चन्द्रशमशेरका छोरा बबरशमशेर र केशरशमशेरको मेलवादेवीप्रतिको आसक्ति निकै थियो ।
मेलवादेवीकी छोरी विमला दीक्षितले भारतबाट प्रकाशित पत्रिका ‘संगीत सरिता’ मा आमालाई सम्झँदै भनेकी थिइन्, ‘मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा केशरशमशेर पनि भुतुक्कै हुन्थे । एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले आमालाई भने– अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छ्यौ ? त्यसबेला आमाको प्रत्युत्तर थियो– पानी कति मात्रामा पर्छ, म त्यो भन्न सक्तिनँ, तर आकाशमा बादल आउँछ र पानी पर्छ, म यति भन्न सक्छु । अनि केशरशमशेरले ‘लौ तिमीले भनेको कुरा पुग्यो भने म तिमीलाई पाँच हजार रुपियाँ दिन्छु’ भनी आमासँग बाजी थापे । आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो । अनि केशरशमशेरले स्याबास भन्दै आमालाई पाँच हजार रुपियाँ बक्सिस दिए ।’
‘संगीत सरिता’ को अर्को लेखमा विमलाले आफ्नी आमालाई चन्द्रशमशेरकी प्रिय गायिकाका रूपमा चित्रित गरेकी छन् । चन्द्रशमशेर सिकारका बेला पनि मेलवादेवीलाई सँगै लिएर जान्थे । उनले गीत गाउन थालेपछि विशेषगरी मृगहरू उनको वरिपरि आउँथे । चन्द्रशमशेर मेलवादेवीको वरिपरि आएका मृगलाई सिकार नगर्न सहयोगीहरूलाई आदेश दिन्थे । यसरी पनि चन्द्रशमशेर मेलवादेवीको कला र गलालाई सम्मान गर्ने गर्थे ।

भगतकृष्ण र मेलवा खटपट
दरबारका तबलावादक भगतकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रूप, यौवन र धनसम्पत्तिप्रति त्यति नै आसक्त थिए । दरबारभित्रको खटपटबीच चन्द्रशमशेरले मेलवादेवीलाई काठमाडौंको विजयेश्वरीमा एउटा घर किनिदिए । २६ वर्षको उमेरमा १९ वर्ष राणादरबारमा संगीतको सेवा गरेर चन्द्रशमशेरकी रानीबराबरको सम्मान लिई उनी दरबारबाट निस्किन् । मेलवादेवी हाँसी–हाँसी तामदानमा चढेर सिंहदरबारबाट बाहिरिएको त्यो दृश्य सिंहदरबारको दोस्रो तलाको उत्तर कुनाको बुर्जाबाट महाराज चन्द्रशमशेरले बडो निरीह भएर निर्निमेष हेर्नुको विकल्प रहेन ।
साहित्यकार मदनमणि दीक्षितको एक लेखानुसार चन्द्रशमशेरले विसं १९८५ को वसन्त पञ्चमीको दुई दिनअघि दरबारमा फर्मान जारी गरे, ‘पाँच वर्षभन्दा बढी काम गरिसकेका इच्छुक नानी र सुसारेहरू वसन्त पञ्चमीको दिन सिंहदरबार छाडेर जान सक्छन् ।’ अन्ततः मेलवादेवी दरबारबाट बाहिरिने भइन् । मेलवादेवीको बहिर्गमनको खबरले आह्लादित बनेका चन्द्रशमशेरले दुःखका आँसु एक्लै बगाउनुको विकल्प रहेन । आफूले बक्सिसमा पाएका गरगहनामध्ये धेरै आफ्ना सुसारेलाई बाँडिदिएको पनि चन्द्र महाराजले चाल पाएनन् ।
दुईवटा विवाह गरेर ४ सन्तान जन्माइसकेका तबलावादक भगतकृष्ण मानन्धर मेलवादेवीको पछि लागे । प्रेमको नाटक गर्दै मेलवादेवीको दरबारिया संगतबाट फाइदा उठाउने हेतुले मानन्धरले मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा लगेर सिन्दूरपोते लगाइदिए । त्यसपछि भगतकृष्ण मानन्धरको तबला चन्द्र–दरबारमा बज्न छाड्यो । उनी दरबारमा निषेधित भए ।
मेलवादेवीसँग वैवाहिक जीवन गाँसेको कसुरमा त्यस बेला भगतकृष्ण पनि आफ्नो जातीय समाजबाट बहिष्कृत भए । सोही विषयमा भगतकृष्ण र मेलवादेवीको पारिवारिक खटपट सुरु भयो अनि विवाह गरेको केही वर्षमा मेलवादेवीको दाम्पत्य जीवन भताभुंग भयो । उनले आफ्नो घर सस्तैमा बेचिन् र शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णय गरिन् ।

शास्त्री–मेलवा मेल
धेरैले मेलवादेवी र शुक्रराज शास्त्रीबीच प्रेम सम्बन्ध पनि थियो भनेर अड्कल काट्ने गर्छन् । तर, वास्तविकता निकै फरक थियो । त्यतिबेला शास्त्री र उनका समकालिक जहानियाँ राणा शासनको जरा उखेल्न लागिपरेका थिए । राणा दरबारभित्रको सूचना थाहा पाउने एउटा गोप्य माध्यमको रूपमा शुक्रराज शास्त्रीले मेलवादेवीलाई प्रयोग गरे । चन्द्र महाराजकी प्रिय पात्र मेलवादेवीले शास्त्रीलाई थाहा पाएजति सूचना दिने गरेकी थिइन् । त्यसै बेला शुक्रराज शास्त्रीले आफ्नो नाटक ‘स्वर्गको दरबार’ मा मेलवादेवीलाई गीत गाउने अवसर दिए, ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो । एक मात्रै धर्म साधन, नारी घरको द्वार हो ।’
त्यस गीतमा प्रयोग भएका नारी सशक्तीकरणका शब्दहरू राणाहरूलाई बिझाउने खालका थिए । ‘नारी घरकी देवी हो’, ‘राज्य लक्ष्मी हो’, ‘माणिक मोती हो र राज्यमन्त्री हो’, ‘जोबिना स्वर्ग राज हुन असम्भव छ’ भन्ने शब्द र भाव यस गीतमा छन् ।
शुक्रराजसँगको क्रान्तिकारी मेलपछि चन्द्रशमशेर औंसीको बादल बने र मेलवादेवीप्रति कठोर निर्णय गरे । दरबार छाडेर जाने आदेशलाई मेलवादेवीले सहजै स्वीकार गरिन् ।
शुक्रराज शास्त्रीकै सल्लाहबमोजिम मेलवादेवी भारतको कोलकाता जाने निर्णयमा पुगिन् । यस सन्दर्भमा उनको दरबारिया गायिकी जीवनको पनि सम्बन्ध थियो । राणा दरबारमा गाना–बजानाका लागि आउने उस्तादहरू पनि मेलवादेवी–स्वरको पारखी मात्रै होइन, ठूला फ्यान नै थिए । उनीजस्ती गायिका भारतमा समेत नभएको भनेर उनीहरू चर्चा गर्थे र भारतमा गई संगीतमा अघि बढ्न प्रेरणा दिन्थे ।

सुलभादेवी र प्रवास जीवन
हप्तौंको यात्रापछि उनी कोलकाता पुगिन् । दरबारबाट निस्कँदाको रुपियाँ–पैसा, गरगहना र घर बेचेको सम्पत्ति उनीसँग थियो । संगीत मोह र त्यसलाई अझै कसी लगाउने उनको प्रतिबद्धतामा कमी आएको थिएन । पुत्र वियोगमा विक्षिप्त बनेकी उनी संगीतका सभा–समारोहमा झन् झुम्न थालिन् । कहिले इलाहाबाद संगीत सम्मेलनमा पुग्थिन् त कहिले रामगढ संगीत सम्मेलनमा । आफ्नो गलाको कौशल देखाएको ठाउँबाट उनी सुनका तक्मा पनि प्राप्त गर्थिन् । सोही क्रममा विसं १९८६ को इलाहाबाद संगीत सम्मेलनले उनलाई ‘ठुमरीकी रानी’ को दर्जा दियो । उमेरले चालीस कटेपछि मेलवादेवीको जीवनमा विविध उतारचढावहरू देखा परे । गायिकी कम हुँदै गयो । आर्थिक अवस्था खस्कँदै गयो । दुई छोरीको शिक्षादीक्षा र पालनपोषणका लागि उनी कोलकाताकै मारवाडी बालिका विद्यालयमा संगीतकी गुरुमा बनिन् । त्यही स्कुलमा छोरीहरू पनि भर्ना गरिन् । आफ्नै निवासमा संगीतको कक्षा पनि सञ्चालन गरिन् । आफ्ना शिष्यहरूलाई हिन्दी र बंगाली भाषाका गीत गवाएर अनि शास्त्रीय रागहरू सिकाएर उनले जीवन गुजारा मात्रै गरिनन्, त्यही पेसाको निरन्तरतासँगै कालान्तरमा दुई छोरीहरूको विवाहसमेत गरिदिइन् ।
तर, दुःखको कुरा के छ भने यी सबै कार्य मेलवादेवीले होइन, आफ्नो फेरिएको नाम ‘सुलभादेवी’ ले गरेकी थिइन् ।

स्वर, सुर र संगीतको मेल
मेलवादेवीमा सामाजिक, सांस्कृतिक र साहित्यिक उच्च चेतना राणाकुलले भरिदियो । कविता र गीति चेतनामा थप चेत र कला शुक्रराज शास्त्री र उनका साथीहरूको संगतबाट थपियो । शास्त्रीय संगीतको घरानाले गायिकीमा मात्रै होइन, शब्द छनोटमा पनि उनमा गुणात्मकता थपिदियो । जन्मिँदै संस्कृतिले सम्पन्न गुरुङ परिवारमा जन्मिएकी उनमा रुम्जाटारको पानी पिएको लय र गला स्वाभाविक थियो । शास्त्रीय संगीतको अभ्यासले सो गायिकीलाई लोक–संगीत मिश्रित शास्त्रीय संगीत बनाइदियो । फलतः उनका आफ्नै रचना रहेका गीतमा शाब्दिक गहनता, लयात्मकता, उच्चारणमा उचित ध्वनि र संगीतमा परिपक्वता पाइन्छ । तत्कालीन अवस्थामा भारतको कोलकातामा गीत रेकर्ड गर्न धेरै नेपाली गायक–संगीतकार पुग्ने गर्थे । त्यसमा संगीत प्रवीण नरराज ढकाल, मास्टर रत्नदास प्रकाश, गोपाल श्रेष्ठ आदि थिए । नरराज ढकालले त केही समय मेलवादेवीसँग संगीतसमेत सिकेका थिए । रत्नदास प्रकाश र गोपाल श्रेष्ठहरूलाई त्यहाँको स्टुडियो र रेकर्डिङबारे उनले जानकारी गराएकी थिइन् ।
संस्कृति अन्वेषक सुवी शाहका अनुसार, १९९०–९१ मा भारतको कोलकातास्थित ‘हिज मास्टर्स भ्वाइस’ (एचएमभी) मा ‘सवारी मेरो रेलैमा’ र अन्य ७ गीतको डिस्क रेकर्ड गराइन् मेलवादेवीले । गीत लेख्ने, संगीत भर्ने र आफैं गाउने अनि ७२ आरपीएम डिस्कमा रेकर्ड भएका गीत ग्रामोफोनमा बज्ने पहिलो नेपाली गायिका उनै बनिन् ।
‘सवारी मेरो रेलैमा’ बाहेक उनका गीत थिए– ‘आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा’, ‘हाई मेरो परदेशी प्रितम छाडेर जानुभो’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर’, ‘भूकम्पको त्रास’ (नेपाल भाषा), ‘थापा है थली’, ‘श्री ३ महाराज सुन प्रभु’, ‘न घरलाई घर कहिन्छ’ ।
हरियो भन्नु तुलसी पत्र, पहेंलो सुरती
परन्तुसम्म नहुने भए के गर्नु पिरती ।
हाय मेरो प्रदेशी प्रितम छाडेर जानुभो ।
संगीतका जिज्ञासुहरू भन्छन्, उनी आफैंले सिर्जना गरी लय भरेको यो गीत चन्द्रशमशेरलाई दरबारको कोठीमा सुनाउने गर्थिन् । चन्द्रशमशेरमा उनीप्रतिको अनुराग कलाको परखले भुतुक्कै हुने मेलवादेवीको स्वभाव र बहुमुखी प्रतिभामाथि थियो ।

स्वरको बैठान
दुई छोरीहरू शान्तिरानी र विमलाको विवाहपश्चात् मेलवादेवी फेरि एक्लै भइन् । उनले कोलकातास्थित नर्थ स्टेटको डेरामा बुढ्यौली काट्नुपर्ने भयो । सानै उमेरमा गुमाएका दुई छोराहरू ओम र मोहनको मातृ–स्मृति, राणा दरबारमा बिताएको सौखिन जीवनको विस्मृति, जीवनको सबैभन्दा ठूलो गहना आफ्नो आवाज दरबारमा गुमाएको पीडा लगायतका कुराले मेलवादेवी बिथोलिइरहिन् । जीवन एउटै कोठामा साँघुरियो । २०१२ साल मंसिरमा ५३ वर्षको उमेरमा खाना पकाउने स्टोभ पड्केर उनी खरानीमा परिणत भइन् । भारतमै बिहेबारी गरेका दुई छोरीहरूले पनि यो घटना थाहा पाएनन् । उनका धर्मपुत्र रामचन्द्र गुप्ताले लास बुझे । कोलकातास्थित हुगली नदीको कालीघाट किनारमा उनको अन्त्येष्टि
गरियो । धरतीको धुनमा कालजयी गीत गाउने महान् गायिकाको निधन केवल वायुले चाल पायो ।

हुलाक टिकटमा कि मनमा ?
नेपाली नारीजातिकी महान् गायिका मेलवादेवीको सम्मानमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ । नेपाल फिलाटेलिक सोसाइटीका अनुसार, केन्द्रीय गोश्वारा हुलाक कार्यालयले व्यक्तिगत सिरिजअन्तर्गत सन् २०१२ को जुन–जुलाईमा मेलवादेवीको तस्बिरसहित जन्म र मृत्यु सालसमेत उल्लेख गरेर पाँच रुपैयाँ दरका हुलाक टिकट प्रकाशित गरेको छ ।
अब एआईले गीत गाउँछ, लेख्छ, संगीत भर्छ भन्ने भाष्य संसारभर छरिइरहेका बेला सरकारी कामकाजमा पनि कम मात्रामा प्रयोग हुने हुलाक टिकटमा मेलवादेवीको तस्बिर हुनु त्यस्तो ठूलो सम्मान पक्कै होइन ।
जन्मिनासाथै भाइरल हुने सौभाग्य पाएर आएका अहिलेका पुस्ताका कति गायक–गायिका, संगीतका साधकले मेलवादेवीलाई चिन्छन्, उनको कला र गलालाई चिन्छन् ? उनको गायिकीलाई साक्षी राखेर अहिले कति गायिकाहरू मेलवादेवीको संगीतपथमा छन् ?
सय वर्ष पुग्नै लागेको छ, मेलवादेवीले गीत रेकर्ड गरेको नेपाली नारी इतिहासको । उनको स्वर र संगीतको कदर गर्न आजका नारी–कोकिलहरूले आफ्नो स्वर सुरमा सुसज्जित गराउन संगीतका सात सुरहरूमा लगाइरहून् ।

 

Page 10
कोसेली

'नेपालीमा लेख्नेलाई यो समय सुनौलो छ’

- कान्तिपुर संवाददाता


सिक्किमका लेखक प्रज्वल पराजुली अंग्रेजी साहित्यमा परिचित नाम हो । ‘द गुर्खाज् डटर’ (कथासंग्रह) र ‘ल्यान्ड ह्वेर आई फ्ली’ (उपन्यास) बाटै उनले विश्व साहित्यिक मञ्चमा आफूलाई स्थापित गरे । उनका किताब बेलायतका ‘डिलन थोमस प्राइज’, ‘मोगफोर्ड प्राइज’ एवं फ्रान्सको ‘इमिल गिमेट प्राइज’ को अन्तिम सूची, फ्रान्सकै ‘डेब्यु नोभल प्राइज’ र अमेरिकाको ‘द स्टोरी प्राइज’ को मनोनयनमा परिसकेका छन् । उनी आफैं पनि सन् २०१८ र २०२३ मा ‘डिलन थोमस प्राइज’ को निर्णायकसमेत रहिसकेका छन् । यसअघि ‘द गुर्खाज् डटर’ किताब ‘गोर्खाकी छोरी’ का नाममा नेपालीमा प्रकाशित भइसकेको छ । भर्खरै उनको उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ नेपालीमा प्रकाशित छ– ‘चित्रलेखाको चौरासी’ नाममा । काठमाडौं आएका बेला प्रज्वलसँग पात्र निर्माण, गोर्खाल्यान्ड आन्दोलन र साहित्यका विविध पक्षमा केन्द्रित भई उपेन्द्रराज पाण्डेयले गरेको वार्ता ः

अधिकांश नेपाली लेखक नेपाली भाषाबाट अंग्रेजीमा गइरहेका छन् । तपाईंचाहिँं पहिले अंग्रेजीमा अनि नेपालीमा आइरहनुभएको छ । तपाईं आफैंलाई चाहिँ ॅनेपालीमै लेखौं’ भन्ने लाग्दैन ?
मेरो जीवनको एउटा पछुतो हो– नेपालीलाई बेवास्ता गर्नु । अंग्रेजी माध्यमको स्कुल पढेकाले पनि मेरो नेपाली कमजोर भयो । तर, म नेपालीमा उति कमजोर चाहिँ होइन । स्कुल छँदा मलाई आफ्नो नेपाली भयंकर लाग्थ्यो । तर, सबैभन्दा अप्ठेरो ‘गुर्खाज् डटर’ अनुवाद गर्ने बेला भयो । ‘आफैं गर्छु नि’ भनेर थालेँ । तर, प्रत्येक दुई–तीन मिनेटमै अक्क न बक्क भएँ । मलाई थाहा छ– म नेपालीमा कमजोरै छु । यस्तो हो, म नेपालीभन्दा अंग्रेजीमा राम्रो लेख्न सक्छु । नेपालीमा लेख्न गाह्रै छ नि ! तर, मलाई नेपालीमै कुरा गर्न मनपर्छ । म ट्याक्सी चालकहरूकै कुरा सुनेर त्यसलाई अंग्रेजीमा उतार्न खोज्छु । ‘प्याच्च थुक्नु’, ‘थचक्क बस्नु’, ‘गलल हाँस्नु’ जस्ता अनुकरणात्मक शब्दको प्रयोगमा हाम्रो भाषा यति सुन्दर छ, म त्यसैलाई अंग्रेजीमा उतार्न खोज्छु ।

नेपाली अनुकरणात्मक शब्दलाई अंग्रेजीमा ढाल्न कति सजिलो हुँदोरहेछ ?
अनुवादमा ठ्याक्कै नेपालीमा जस्तै नआउन सक्छ । ‘ऊ गलल हाँस्यो’ लाई अंग्रेजीमा के भन्ने ? ‘हि लाफ्ड अप्ररियसली’ भन्दा त भयो, तर त्यसले गललै हाँसेको अर्थ त दिँदैन । मलाई यसैबारे पनि लेख्न मनलाग्छ । हामी नेपालीहरू यसरी हाँस्छौँ, यसरी बस्छौँ, यसरी खान्छौँ भनेर लेख्न मन पराउँछु म ।

तपाईं नेपाली साहित्य कति पढ्नुहुन्छ ?
म ईन्द्रबहादुर राई, सानु लामाहरूलाई पढ्ने प्रयास गर्दैछु । धेरै नेपाली किताब अंग्रेजीमा अनुवाद भएपछि मात्रै पढ्छु । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ नेपाली र अंग्रेजी दुवैमा पढेँ । त्यो किताब सरल र राम्रो छ । तर, भाषा एकदमै जटिल भयो भने त पढ्न गाह्रै हुन्छ । पछिल्लो समय अनुवादमा पनि धेरैको रुचि छ । दक्षिण एसियाली भाषाकै पुस्तकले बुकर पुरस्कारसमेत पाएका छन् । कतिपय प्रकाशकले मलाई कुनै नेपाली किताब अंग्रेजीमा अनुवाद गरौं भनेर प्रस्ताव पनि राखेका छन् ।

किताब राम्रो हुन सम्पादन पनि अब्बल हुनुपर्छ भनिन्छ । अन्तर्राष्ट्रिय बजारमा किताब प्रकाशन गर्न कुन तहको सम्पादन आवश्यक हुँदोरहेछ ?
राम्रो लेखकले कुशल सम्पादकको महत्त्व बुझेको हुन्छ । कुनै पनि भाषामा आफू जति भयंकर छु भन्ने सोचे पनि सम्पादकको नजर महत्त्वपूर्ण हुन्छ । मेरै दुइटै पुस्तक पनि ३० औं पटकसम्म सम्पादन भएका होलान् । विद्यार्थीहरूले पनि सम्पादनको महत्त्व बुझून् भनेर मैले आफ्नो कथाको पहिलो र अन्तिम ड्राफ्ट उनीहरूलाई दिने गरेको छु । म उदीयमान लेखकहरूलाई भन्ने गर्छु– तपाईंको पुस्तक पढिदिने राम्रा सम्पादक र अन्य लेखक खोज्नुहोस् ।

औपनिवेशिक कालदेखि नै पश्चिमाले आफ्ना कथा सुनाउँदै आएका हुन्, आफ्नै भाषामा । अब कथा सुनाउने पालो पूर्वेलीको पनि होला । गीतांजलि श्रीको उपन्यास ॅरेत समाधि’ ले बुकर पुरस्कार पाउनुको अर्थ नेपाली, हिन्दीलगायत अन्य दक्षिण एसियाली भाषाका साहित्यलाई अन्तर्राष्ट्रिय बजारको ढोका खुल्लै छ भन्ने हो ?
हिन्दी मात्रै होइन, नेपालीमा लेख्नेहरूका लागि पनि यो सुनौलो समय हो । अनुवादका लागि सही समय हो । अनुवादका सन्दर्भमा पछिल्ला केही वर्षलाई उर्बर मान्न सकिन्छ । पश्चिमा प्रकाशकले हाम्रा कथामा रुचि देखाएका छन् । सन् १९८० को दशकतिर एक भारतीय लेखकलाई अमेरिका, बेलायतमा
आफ्ना किताब निकाल्न गाह्रै थियो । रुस्दी, नयपल हुँदै आउँदा अहिले उनीहरूलाई पनि हाम्रा कथामा रुचि छ भन्ने देखिन थालेको छ । विभिन्न बुक फेस्टिभलमा पनि अनुवादमाथि चर्चा हुने गरेको छ । यसमा पुरस्कार र बजारको पनि कुरा होला । हाम्रै कथा समेटिएको ‘ल्यान्ड ह्वेर आई फ्ली’ फ्रेन्चमा अनुवाद भयो । अन्य मुलुकका तुलनामा फ्रान्सले अनुवाद बढी पढ्छ ।

ॅगुर्खाज् डटर’ र ॅल्यान्ड ह्वेर आई फ्ली’ थुप्रै देश र भाषामा प्रकाशित भएका छन् । यसले तपाईंलाई अन्तर्राष्ट्रिय प्रख्याति पनि दिलायो । लेखनमा अन्तर्राष्ट्रिय प्रसिद्धि र पहुँचले कस्तो प्रभाव पार्दोरहेछ ?
लेखक जति लोकप्रिय भयो, उसका किताब उति नै बिक्री हुन्छन् र प्रोफाइल पनि बढ्छ । स्कुल र युनिभर्सिटीहरूले पढाउन बोलाउँछन् । तर, साहित्य महोत्सवहरू नै भन्दै हिँडियो भने लेखनबाट विमुख हुने अवस्था आउँछ । शोभा डे भन्नुहुन्छ, ‘म जहाँ भए पनि दिनको १५ सय शब्दचाहिँ लेख्छु ।’ मेरै धेरै लेखक साथी लेखनमा अनुशासित छन् । धेरै विषय अनुभवबाटै सिक्ने हो । एउटा निश्चित समयसम्म लेखिसकेपछि तपाईं थाहा पाउनुहुनेछ– केले काम गर्छ, केले गर्दैन ?
लेख्दै जाँदा कहिलेकाहीँ अप्रत्याशित तरिकाले पात्रहरूको विकास हुन्छ कि हुँदैन ? त्यस्तो अवस्थामा पात्रहरू कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हुन्छ नि, किन नहुने ? मैले एक पात्रले ‘यस्तो–यस्तो गर्छ’ भनेर सोचेको हुन्छु । एक–दुई घण्टा लेख्न बसेपछि पात्रहरू आफ्नै पारामा अघि बढिरहेका हुन्छन् । मैले हिँडाउन खोजेको बाटो एउटा हुन्छ, लेख्दै जाँदा त्यो अर्कै हुन्छ । पात्रहरू आफैं पखेँटा हालेर उड्छन् । केही पात्रले मैले कहिल्यै नसोचेको काम गर्छन्, अचानक अर्कै बाटो रोजिदिन्छन् ।

तपाईंको आफ्नै जीवनबाट उपन्यास, कथाका पात्र र विषयवस्तु प्रभावित भएका छन् ? ॅल्यान्ड ह्वेर आई फ्ली’ को ॅरूत्व’ प्रज्वल पराजुली नै हो भनिन्छ नि !
त्यो किताबको सबै पात्रमा कहीँ न कहीँ छु म । मान्छेहरू ‘द गुर्खाज् डटर’ को अन्तिम कथा ‘द इमिग्रेन्ट्स’ मेरै आत्मकथा हो भन्छन्, त्यो हुँदै होइन । तर, रूत्वसँग मेरो समानता छ । कति ठाउँमा मैले ‘रूत्व इज प्रज्वल पराजुली, गोन ब्याड’ पनि भनेको छु । उपन्यासमा रूत्वले गरेको अवलोकन मेरै जीवनसँग मेल खान्छ । मलाई चाहिँ म रूत्व र चित्रलेखाको संयोजन हुँ झैं लाग्छ । मैले मानसालाई पनि आफूसँग जोड्ने गरेको छु । ‘ल्यान्ड ह्वेर आई फ्ली’ को सिक्वेल लेखेँ भने मानसामै फोकस हुन्छु होला ।

ॅप्रिक्वेल’ लेख्छु भन्नुभएको थियो । कहिलेकाहीँ प्रकाशककै दबाबमा ॅप्रिक्वेल’ लेख्दा अघिल्लो पुस्तकजस्तो दमदार नहुने डर पनि होला । हार्पर लीको ॅटु किल अ मकिङबर्ड’ जस्तो भव्य त्यसको प्रिक्वेल ॅगो सेट अ वाचम्यान’ भएन भनिन्छ !
मेरो उपन्यासका पात्रले के–के गरे होलान् भन्ने सोच्छु बेला–बेला । एउटा अर्कै किताब लेखेपछि मात्रै ‘ल्यान्ड ह्वेर आई फ्ली’ को प्रिक्वेल वा सिक्वेल लेख्ने निर्णय गर्नेछु । तपाईंले हार्पर लीको नाम लिनुभयो, मचाहिँ अरुन्धती रोयको उदाहरण दिन्छु । उहाँले ‘गड अफ् स्मल थिंग्स’ लेख्नुभयो, त्यति उत्कृष्ट साहित्य कमै आउला । २० वर्षपछि उहाँले ‘द मिनिस्ट्री
अफ् अटमस्ट ह्याप्पिनेस’ लेख्नुभयो । यो किताबको सुरुवात एकदमै गज्जब छ, तर बीचमा अल्छिलाग्दो । त्यसैले मेरो सन्दर्भमा त्यस्तो नहोस् भन्ने चाहन्छु । पहिलो र दोस्रोभन्दा तेस्रो किताब राम्रो होस् भन्ने मेरो चाहना छ ।

तपाईंका दुवै किताबमा नेपाली पारिवारिक जटिलता लेखिएका छन् । नेपाली संस्कृतिलाई विश्वकै पाठकले बुझ्ने गरी कथा भन्न कति कठिन छ ?
सन् १९७०, १९८० को दशकतिर रुस्दीहरूले लेख्दा गाह्रो हुन्थ्यो होला । अहिले त केही बुझिएन भने गुगल गरे भइहाल्यो । हामीले ‘जर्मन अक्टोबरफेस्ट’ बारे खोजेर थाहा पाउनुपर्ने, उनीहरूले चाहिँ हाम्रा पूजापाठ, मराउमा के हुन्छ, त्यो खोज्न नहुने ? अब हरेक विषयलाई प्रासंगिक बनाउनुपर्छ भन्ने मलाई लाग्दैन ।

तपाईंका दुवै किताबमा ॅघरको अवधारणा’ माथि चर्चा छ । जीवन र लेखनको सन्दर्भमा तपाईंका लागि घर के हो ?
जहाँ बसे पनि, जति घुमे पनि मेरा लागि घर भनेको हिमालय नै हो । म अरू केहीबारे लेख्नै सक्दिनँ । अन्त कतै मेरो उपन्यास वा कथालाई आधार बनाउनै सक्दिनँ । मलाई लेख्न सजिलो हुने विषय वा मेरो घर भनेकै हिमालय क्षेत्रका पहाडहरू हुन् । अहिले पनि साहित्य महोत्सवहरूमा ‘घरको अवधारणा’ बारे विमर्श भइरहेको हुन्छ । म एक घुमन्ते, एकै ठाउँ नबसेको कत्ति वर्ष भयो । तर, अन्तिममा मेरा लागि घर भनेको हिमालय नै हो ।

गोर्खाल्यान्ड आन्दोलनमाथि चर्चा गरौं न Û किरण देसाईको किताब ॅद इनहेरिटेन्स अफ लस’ मा कालिम्पोङकै सेटिङ छ । तर, आन्दोलनको खराब चित्रण गरेको आरोप देसाईलाई छ । छुदेन काविमोले पनि ॅफातसुङ’ उपन्यासमा गोर्खाल्यान्डको वास्तविक कथा नभनेको आरोप लाग्यो । त्यो आन्दोलनबारे तपाईंको दृष्टिकोण के हो ?
गोर्खाल्यान्ड बन्नुपर्छ । कारण सही भए पनि हामीले अपनाएको बाटो गलत भयो कि ? हड्ताल गरेर, त्यहीँ बस्नेलाई दुःख दिएर मात्रै गोर्खाल्यान्ड पाइन्छ भन्ने लाग्दैन । गोर्खाल्यान्ड हुनुपर्छ, तर महिनौं बन्द गरेर, अर्थतन्त्र धराशायी बनाएर गोर्खाल्यान्ड बन्दैन ।

गोर्खाल्यान्ड आन्दोलनसँग नेपालीभाषी बाहुल्यता रहेको सिक्किमले आफूलाई अलग राखेको छ । कहिलेकाहीँ सिक्किमसहितको गोर्खाल्यान्डको प्रसंग पनि उठिरहेकै
हुन्छ ! सिक्किमेली भएकै कारण तपाईंले पनि त्यसको आलोचना गर्नुभएको त होइन ?
गोर्खाल्यान्डभन्दा सिक्किमका जनता बढी भाग्यमानी हुन् । तर, कहिलेकाहीँ गोर्खाल्यान्डले सिक्किमलाई असहज पनि बनाएको छ । दार्जिलिङ पहिले सिक्किमकै एक भाग थियो । पछि नेपालले सिक्किमबाट दार्जिलिङलाई आफ्नो बनायो । पछि अंग्रेजहरूले नेपालबाट त्यो भूभाग जिते । मान्छेहरू भन्छन्– सिक्किम र दार्जिलिङ गाभिनुपर्छ, तर मलाई लाग्छ त्यो सम्भव हुँदैन ।

गोर्खाल्यान्ड आन्दोलनलाई साहित्यले न्याय नगरेको हो ?
किरण देसाईले कालिम्पोङलाई नजिकैबाट अवलोकन गरेर लेखिन् भन्ने लाग्दैन । उनले ‘आउटसाइडर’ का रूपमा लेख्दा समस्या भएको हुनसक्छ । देसाईको सबैभन्दा आलोचना भएको विषय हो– नेपालीहरूलाई ‘स्टेरियोटाइप’ गरेकोमा । सिर्जनाका हिसाबले ‘द इनहेरिटेन्स अफ् लस’ असाधारण छ । तर, देसाईले पढेलेखेका नेपालीसँग संगतै गरिनन् । नेपाली समुदायबीच उनको अन्तरघुलनै भएन । त्यसैले उपन्यासमा नकारात्मक चित्रण गरिन् ।

तपाईंका कथामा अन्तरजातीय विवाह, जातीय विभेदका विषय उठाइएको छ । महिला पात्रहरू पनि शक्तिशाली छन् नि !
मैले भारतीय किताबहरूमा हजुरआमाहरूलाई ‘एजेन्सी’ नभएजसरी प्रस्तुत गरेको पाएँ । उनीहरूलाई अचार बनाइरहेको वा एकदमै मायालाग्दो देखाइएको हुन्छ । त्यसैले मलाई शक्तिशाली हजुरआमा पात्र लेख्न मन थियो– नेताहरूलाई औंलामै नचाउने खालको चित्रलेखाजस्तो । मलाई कसैले ‘तेरो प्रिय पात्र को हो ?’ सोधे म चित्रलेखा नै रोज्छु । मलाई दक्षिण एसियामा ‘ट्याबु’ का रूपमा लिइने विषयमाथि लेख्न मन थियो । समाजै बदल्छु भनेर लेख्या त होइन, तर वरिपरिका विषय समेटेको हुँ ।

'ल्यान्ड ह्वेर आई फ्ली’ मा अगस्त्य भन्छ, ॅन्युयोर्क छाड्नु पहिचान पनि छाड्नु हो ।’ के नेपालीहरू अहिले पहिचानको संकटमा छन् ?
नेपालका नेपालीलाई पहिचानको संकट के छ र ? भारतका नेपालीलाई चाहिँ छ । नेपालबाट दूरी कायम राखेका नेपालीलाई एक प्रकारको पहिचानको संकट होला । खोजे भेटिन्छ– सबै मान्छेमा पहिचानको संकट । म आफैं पहिचानको संकटमा छु जस्तो लाग्छ । मेरो मुवाँ नेपालको, बुवा गान्तोकको, परिवारको मूल थलो कालिम्पोङ ।

त्यसलाई नयाँ पहिचानका रूपमा पनि लिन सकिन्छ होला नि ?
वास्तवमै हो, सुजीव शाक्यले भनेझैं त्यसलाई ‘ग्रेटर हिमालयन आइडेन्टिटी’ का रूपमा लिए हुन्छ । नेपाल, भारत, भुटान जहाँको नेपाली भए फरकपनले अलग हुनुभन्दा समानताले एकताबद्ध हुनु राम्रो ।

तपाईंको तेस्रो पुस्तक कहिले आउँछ ? यसअघि जयपुर साहित्य महोत्सवमा ॅझट्टै आउँदैन’ भन्नुभएको थियो नि !
धेरै समय लाग्दैन होला अब । अहिले लेख्न मज्जा आइरहेको छ । नयाँ प्रोजेक्टमा काम गरिरहेको छु । यो विषय पहिलो र दोस्रोभन्दा फरक हुनसक्छ । गैरआख्यान पनि हुनसक्छ त्यो । र, त्यो हिमालय क्षेत्रमै आधारित हुन्छ ।

कोसेली

तपाईं उमादेवी बादी चिन्नुहुन्छ ?

- राजेन्द्र महर्जन

 

एक जना महिलाको काँधमा थियो टोकरी, टोकरीमा थिए दुई जना बच्चा । उनको टाउकोमा थियो– मारिएको जनावरको भारी । अर्की स्त्रीचाहिँ सिङ समात्दै मृगलाई तान्दै थिई भने अर्की नारी माछा मार्दै । टोकरी समात्ने सबैजसो महिला गर्भवती थिए । ती सबै महिला सिकारमा सहभागी थिए । सामूहिक सिकार–दृश्य गुफामा चित्रण गरिएको भित्तेचित्र थियो । भित्तेचित्र पनि आजको होइन, करिब सात हजार वर्षअघिको ।
मध्य–भारतको भीमबेटको गुफामा फेला परेको भित्तेचित्रमा महिलाहरू खाद्यान्न र अन्य पदार्थसँगै टोकरी र जालले शिकार पनि खेलिरहेको देखाइएको थियो । तिनै चित्रका आधारमा इतिहासकार उमा चक्रवर्ती भन्छिन्, ईपू ५००० वर्षअघि प्राग्–इतिहासमा महिला र पुरुषबीच कुनै प्रकारको दृढ श्रम–विभाजन थिएन, न त सत्ता–सम्बन्ध नै स्थापित भइसकेको थियो । शिकार खाद्यान्न अर्थतन्त्रमा महिलाहरूको योगदान पुरुषको तुलनामा न कम थियो, न त बढी थियो । गर्डा लर्नरका सटीक शब्दमा, महिला–पुरुषको सापेक्षिक अवस्था ‘अलग तर समान’ थियो । अहिलेको अवस्थिति कस्तो छ त ? अलग तर असमान ! अर्को शब्दमा, पुरुष–सत्ताको अधीन !
प्राचीन समाजमा पुराना औजार, माटोका भाँडाकुँडा तथा बसोबास गरिएका गुफाका अवशेषका आधारमा महिला–पुरुषको अवस्था र समग्र समाजको खाका खिच्ने कोसिस गरिन्छ, प्रस्ट चित्र नआए पनि । अहिलेको सामाजिक स्थिति बुझ्ने अस्त्र भने धेरै भएका छन्, तीमध्ये सशक्त माध्यम तस्बिर भएको छ । इतिहासकार प्रत्यूष वन्तले नेपालमा तस्बिर उपभोगको इतिहासलाई रेखांकन गरेका छन् । तस्बिर उपभोगको इतिहास हेर्दा सन् १८६० को दशकदेखि थालनी भएको देखिन्छ र पाठकको मनमा प्रश्न उठ्ने गर्छ— सन् १९१० सम्म तस्बिरमा राणा शासकहरूको मात्रै विशेषाधिकार कसरी भयो, राणा शासन खुकुलिएसँगै उनीहरूको एकाधिकार पनि कसरी फुस्किन थाल्यो, विशेष गरी काठमाडौंमा फोटो स्टुडियोहरू बन्न थालेपछि नवनिर्मित मध्यम वर्गको पहुँच कसरी विस्तार भयो ? यी सबैको उत्तर खोज्न सहज बनाउने माध्यम हो— तस्बिरको सामाजिक इतिहास ।
महिलाको नजरबाट तस्बिरको सामाजिक इतिहास हेर्दा लोकतन्त्रीकरण हुँदै आएको देखिन्छ, तर यो पनि मूलतः नेपाली राज्य, समाज र परिवारजस्तै पुरुषवादी नै रहेको पाइन्छ । राणा र शाह शासक पुरुषहरूका तस्बिरमा दायाँ–बायाँ र छेउकुनातिर महिलाहरू शृङ्गारका रूपमा नदेखिएका होइनन् । महिलाहरू स्थिर तस्बिरदेखि परिवर्तनशील निजी, पारिवारिक र सामाजिक जीवनसम्ममा केन्द्रमा समान हैसियतका साथ स्थापित हुन कति समय लाग्ने हो, निश्चित छैन । आम नेपाली महिलामा पनि विभिन्न वर्गीय, जातीय, जातीयता र यौनिक अल्पसंख्यक महिलाका दृष्टिकोणबाट हेर्दा समताका लागि पुरानो सत्ता–संरचना, उत्पादन सम्बन्ध र पुरुष–महिला सम्बन्धमा कति उथलपुथलकारी परिस्थिति बेहोर्नुपर्ने हो, टुंगो छैन । यसका लागि अनेक प्रयास, संघर्ष र प्रतिरोध भएका छन्, त्यसैको एक सचित्र दस्तावेज हो– ‘सार्वजनिक जीवनमा महिला (द पब्लिक लाइफ अफ वुमन) ।’
‘महिलावादी स्मृतिको एक पहल’ अन्तर्गत क्युरेटर दिवसराजा केसी र नयनतारा गुरुङ कक्षपतिले संयोजन गरेको यस किताबमा नेपाली महिलाका तस्बिर मात्रै छैनन्, उनीहरूका सार्वजनिक जीवनको बयान पनि छ । ती तस्बिर र शब्दले नेपालका प्रत्येकजसो सामाजिक–राजनीतिक उथलपुथलमा महिलाहरूको सहभागिताको गाथा गाउँछन् । र, महिलामा पनि कुन वर्ग, जात, जाति र यौनिकताका महिला दृश्यमा छन्, कुन–कुन अदृश्य छन्, प्रस्ट देखाउने कोसिस पनि गरेका छन्, अक्षरले नभनीकन, चित्रमा नदेखाईकन पनि ।
राजनीतिशास्त्री सेरा तामाङ सार्वजनिक वृत्तलाई घरीघरी चिसो पानी छ्याप्ने गर्छिन्– आम नेपाली महिला भनेको सोलोडोली वस्तु होइन है, बरु यो त अनेक धर्म, संस्कृति, वर्ग, जात, जाति, यौनिकता भएका महिलाको विविधता हो । यही महिला विविधताको कोणबाट हेर्दा सार्वजनिक जीवनमा कस्ता खालका महिलाहरूको प्रभुत्व रहेको छ, आमवृत्तमा कस्ता खालका नारीहरूको पहुँच रहेको छैन, यो कटु यथार्थको तस्बिर हेर्न पनि ‘द पब्लिक लाइफ अफ वुमन’ उपयोगी छ । क्युरेटर–द्वय केसी र कक्षपतिबीचको ‘प्रबन्धक संवाद’ मा पनि सेरा तामाङकै चिन्ता झल्किन्छ । संवादको क्रममा केसी भन्छन्, ‘इन्टरसेक्सनालिटीको दृष्टिकोणबाट सोच्दा के स्पष्ट हुन्छ भने वर्ग, जात, जातीयता, यौनिकता र अन्य थुप्रै प्रकारका विभाजनसँग जुझ्नुपर्दाका परिस्थितिमा महिलावादी गठबन्धन तथा संस्थाहरूका आफ्नै सीमितता थिए । महिलावादमा यौटा विरोधाभास अन्तर्निहित छ— सबै महिलाका लागि आवाज बुलन्द गरिरहँदा पनि यसमा आन्तरिक बहिष्करणका संरचना यावतै छन् ।’
‘द पब्लिक लाइफ अफ वुमन’ का तस्बिरमा पनि निश्चित वर्ग, जात, जातीयता, यौनिकता भएका महिलाको उपस्थिति बलियोसँगै नै देखिन्छ, सार्वजनिक वृत्तमा जस्तै । राणा शासनको अन्त्यका लागि सात सातको पूर्वसन्ध्यामा भएका सडक संघर्षमा हीरादेवी यमीदेखि शान्ता श्रेष्ठसम्म, मंगलादेवी सिंहदेखि साहना प्रधानसम्म देखिन्छन्, तर योगमाया न्यौपानेदेखि कामाक्षादेवी र राममाया च्यामिनीसम्म पनि देखिँदैनन् । त्यस्तै हालत देखिन्छ, सात सालपछि छयालीस सालसम्मको सार्वजनिक राजनीतिक–सांस्कृतिक क्षेत्रमा देखिएका र नदेखिएका महिलाहरूका हकमा पनि ।
राजनीतिक–सांस्कृतिक क्षेत्रको सत्ता–शक्तिको सेरोफेरोमा रहेका एक थरी महिलाहरू सार्वजनिक वृत्त र तस्बिरमा बलियो उपस्थित हुनुले उनीहरूको सामाजिक पुँजीलाई नै प्रस्ट्याउँछ । त्यस अवधिमा पनि मूलतः महिलाको रूपमा व्यक्ति देखिन्छ, व्यक्तिगत उपलब्धि झल्किन्छ, व्यक्ति र व्यक्तिगत कर्मलाई प्रोत्साहित गर्ने राजनीतिको छाया प्रतिविम्बित हुन्छ । तर, त्यसपछिको कालखण्डमा भएका सामूहिक संघर्षको प्रतिविम्बन सार्वजनिक वृत्तमा जस्तै महिलाहरूका सामूहिक तस्बिरमा पनि हुन्छ, चाहे त्यो जनआन्दोलनमा जुझेका नारीको होस् या जनयुद्धमा शामेल छापामार महिलाको होस् ।
तस्बिरको अर्थ–राजनीति पनि सत्ता–शक्ति—सम्पत्ति—शास्त्रको संरचना र अन्तर–सम्बन्धभन्दा बाहिरको एकलासे टापुको परिघटना होइन । तस्बिरका किताबमा देखिएका महिलाहरूका योगदान र संघर्षलाई पटक्कै कम नआँकीकन पनि भन्न सकिन्छ— तस्बिर खिच्न–खिचाउन, सुरक्षा र संरक्षण गर्न, त्यसका लागि घरबाहिर निस्कन, सार्वजनिक जीवनमा उपस्थिति जनाउन निश्चित हैसियत जरुरी हुन्छ । नेपाली समाजमा महिलाको मात्रै होइन, पुरुषको समेत हैसियतको निर्माणमा वर्ग र जात–जातिसँग जोडिएको सत्ता–शक्ति—सम्पत्ति—शास्त्रको संरचना र अन्तर–सम्बन्धको भूमिका कति हुन्छ, जगजाहेर नै छ ।
हिजोसम्म कुनै हैसियत नभएका वा नदिइएका महिलाहरूले सामूहिक संघर्षको क्रममा सार्वजनिक जीवनमा उपस्थिति जनाएका उदाहरणको पनि कमी छैन । तपाईं–हामीमध्ये कसैले २०६४ सालअघि उमादेवी बादीको नाम सुनेका थियौं ? पक्कै पनि कमै थियौं होला । जब राष्ट्रिय बादी अधिकार संघर्ष समितिले उनको अगुवाइमा ४८ दिनसम्म संघर्ष गर्‍यो, संघर्षको क्रममा अर्धनग्न प्रदर्शन गर्‍यो र सरकारले दुईबुँदे सहमति गर्‍यो, तब उनी र उनीजस्ता बादीहरूको संघर्षका तस्बिर छापिएका थिए । त्यसरी नै जमिनदारहरूको शोषण र उत्पीडनविरुद्ध दाङका थारू महिलाहरूले गरेको संघर्ष, कमलरी प्रथाअन्तर्गत बँधुवा जीवन बाँच्ने महिलाहरूका कोसिस, लेस्बियन र क्वियर महिलाका पहल, सुकुम्बासी महिलाका प्रतिरोध पनि यस पुस्तकमा पनि समेटिएका छन्, जुन सराहनीय छ । प्रबन्धकहरूले भनेझै, यस किताबमा पक्कै पनि विगतमा महिलाहरूले राजनीतिक संघर्षमा सहभागी हुँदा, सभा–सम्मेलनहरूलाई सम्बोधन गर्दा, शिक्षामार्फत नयाँ बाटो पहिल्याउँदा, विचार प्रकाशन गर्दै अरूलाई प्रभावित गर्दा, संसार डुल्दै यात्राको वर्णन गर्दा, अधिकारसम्पन्न व्यक्ति हुँदै शक्तिको अभ्यास गर्दा, सामाजिक बारबन्देज तोड्दा र पुराना मूल्य–मान्यतासँगै आदर्श तोड्दाका अनेक झलक देखिन्छन् ।
समाजको पीँधबाट हेर्दा भने वर्ग, जात र लिंगको आधारमा बनाइएको सामाजिक संरचना, त्यसले सिर्जना गरेका विभेद र हिंसाविरुद्ध भएका संघर्षले स्थापित गरेका अनेक मुद्दा र अनुहार छुटेको देखिनु अस्वाभाविक होइन । एउटै किताबमा सबैखाले संघर्ष र तिनका छाया–छविलाई समेट्न सकिँदैन, यसलाई प्रबन्धकहरूका धरातल र हेराइको निरन्तरताको आधारमा बुझ्नुपर्ने हुन्छ । केसी र कक्षपतिले २०७५ सालमै ‘दलित ः अ क्वेस्ट फर डिग्निटी’ (दलित ः आत्मसम्मानको खोजी) नामक महत्त्वपूर्ण प्राज्ञिक किताब र पाटनका भित्ता–भित्तामा टाँसिएका तस्बिर र ऐतिहासिक सामग्रीबाट आफू उभिने धरातल र आफूले हेर्ने दृष्टिकोणलाई प्रस्ट्याइसकेका छन् । आशा गरौं, ‘सार्वजनिक जीवनमा महिला’ पुस्तक र प्रदर्शनीका शृङ्खलामा फेरि पनि यही धरातलको विस्तार र दृष्टिकोणको गहिराइ खोजिने नै छ ।

Page 11
कोसेली

दमनको इख

- शिक्षा रिसाल

 

मैले घरमा दुई हप्ताअघि ‘बम’ खसालें । त्यो बमले आमा, भाइ र दिदीको मथिंगल हल्लियो । मैले आमासामु उभिएर भनें, ‘पैत्रिक सम्पत्ति तपाईं र भाइको नाममा मात्रै छ । दिदीलाई चाहिँदैन रे ! मेरो नाम कहिले चढाउनुहुन्छ ?’
मैले संविधानको प्रस्तावना पढेर सुनाएँ । आमाको रगत उम्लिसकेको थियो । थामथुम पारेर १६ औं पृष्ठको मौलिक हकमा पुर्‍याएँ । धारा ३८ को ‘महिलाको हक’ मा औंलो पुर्‍याएर भनें, ‘संविधान नै मान्दिनँ भन्नुभो भने त अदालत जान्छु ।’
आमा रन्किनुभो, ‘तँ अदालत गइस् भने म पनि वकिल लगाउँछु ।’ आमाले समाजको डर देखाएर मलाई धम्क्याउने अनेक प्रयास गर्नुभो । भारतमा बस्ने दिदीले पनि भनी, ‘तैंले त्यस्तो गरिस् भने अदालतमा त जित्नेछस्, तर समाज र सम्बन्धमा हार्नेछस् । समाजमा मुख देखाउन नसक्ने हुन्छेस् ।’
म गल्नेवाला थिइना । भनें, ‘वरपरका ७–८ जनाले जे सोचे सोचून् । बााकी संसारले मलाई साथ दिनेछ ।’
...
धेरै पटक सोच्छु, ‘म किन छोरी भएर जन्मिएँ ?’
नेपाली समाजको एक हुनेखाने ब्राह्मण परिवारको घरमा दुईवटा छोरीको जरुरत थिएन । दोस्रा छोरीहरू छोराको आसमा जन्माइएका हुन्छन् । दोस्रा छोरीहरू जन्मिँदा पक्कै बा–आमा प्रफुल्ल थिएनन् । दोस्रा छोरीहरू भार हुन्छन् । म पनि छोराको आसमा जन्मिएकी, तर हुन नसकेको छोरा हुँ ।
मभन्दा अघि मेरी दिदी जन्मिइसकेकी थिई । छोरीको कोटा त उसले पूरा गरिदिइसकेकी थिई । मेरो घर–परिवारमा म जन्मिनु वा नजन्मिनुको कुनै उत्साह र उमंग थिएन । तर, पनि म जन्मिएँ । मेरा बा–आमालाई म थप जिम्मेवारी थिएँ । मेरो सट्टा मेरो भाइ जन्मिदिएको भए सम्भवतः यो धर्तीमा एउटा जनसंख्या कम हुन्थ्यो । हुन त यो देशका लागि हामी जनसंख्याको एउटा अंकबाहेक अरू केही पनि त होइनौं ।
भाइलाई देखेर म कहिलेकाहीँ रिसाउँछु— ‘तँ अलि चाँडै जन्मेको भए मलाई यो जिन्दगीको चक्कर नै लगाउनु पर्थेन । यो सर्कसमा नाच्नु पर्थेन ।’
किनभने बीचका छोरीछोरीहरू यता न उताका हुन्छन् । पहिलो बच्चाले यत्तिकै माया पाइहाल्ने भयो । अन्तिम बच्चा सबैको प्यारो । यी बीचका बच्चा–बच्ची मझधारमा अल्झिने ढुंगाजस्ता हुने रहेछन् । न त बाउको प्यारो न त आमाको । बीचका छोराछोरीहरू त्यसैले एक्ला–एक्ला हुन्छन् ।
म आमालाई सोध्थें, ‘मलाई किन जन्माएको ?’
आमा ठाडै भनिदिनुहुन्थ्यो, ‘छोरा होला भनेर जन्माएको, तँ जन्मिइस् ।’ अनि म पनि हाँसेरै उल्टो प्रश्न सोधिदिन्थें, ‘जन्मिनेबित्तिकै किन नछोडिदिएको त ?’
आमा भन्नुहुन्थ्यो, ‘जन्मिएपछि त माया लागिहाल्यो नि । तर, जन्मिँदा तँ घीनलाग्दी नै थिइस् । अहिले बल्ल हेर्नलायककी भएकी छेस् ।’ आमाले जे भने पनि साँचो कुरो के हो भने मेरो परिवार म जन्मिनुको पछुतोमा जलिरहेको छ ।
३० वर्ष कटिसकें— बिहे भएको छैन ।
भलादमी र संस्कारी छोरीको गुण टाढा–टाढासम्म छैन ।
केटाको कुरा ल्यायो— कतिले मलाई पत्याउँदैनन्, कतिलाई म पत्याउँदिनँ । चुप बस्नु यहाँ संस्कार हो । बिस्तारै हिँड्नु संस्कार हो । सानो आवाजमा बोल्नु संस्कार हो । आफ्नो हकका लागि नलडेर सहीबस्नु संस्कार हो ।
म यी सबै संस्कार कुल्चेर हिँडेकी कुसंस्कारी हुँ । आमालाई चिन्ता छ— मैले गरिखान सक्दिनँ । बिहे गरिहाली भने पनि सासू–ससुराले कसरी सहलान् ?
दुई हप्ताअघि मैले प्रत्युत्तर दिएँ, ‘कमाएपछि कसैले सहनु पर्दैन । सम्पत्तिमा अधिकार हुने छोरीहरू कसैको अगाडि झुक्दैनन् ।’
‘कमाइस् खुइलित्त पारेर,’ आमा झर्किनुभो ।
‘अनि पैत्रिक सम्पत्तिमा मेरो हक छैन त ?,’ मैले कुरा कोट्याएँ । आमा मानौं तलाउमा डुब्नुभो । सुन्न हुनुभो । समय हलचल नगरी रोकियो । आमा अनुहार बिगारेर ठुस्स पर्नुभो ।
‘पैत्रिक सम्पत्ति तपाईं र भाइको नाममा मात्रै छ । दिदीलाई चाहिँदैन रे ! मेरो नाम कहिले चढाउनुहुन्छ ?,’ वाल्ल परेकी आमासामु फेरि मैले क्षेप्यास्त्र हानें ।
त्यो क्षेप्यास्त्रले आमा, भाइ र दिदीको मथिंगल हल्लियो । मलाई परिवारमार्फत पितृसत्तामाथि धावा बोल्नु थियो, बोलें । संविधान धारा र कानुनका दफा सुनाउँदा पनि आमा अडानबाट पछि हट्नुभएन । मलाई थाहा छ— कानुनी उपचारमा गएँ भने मैले सम्पत्ति पाउँछु, परिवार गुमाउँछु । अधिकारको यो लडाइँमा परिवार गुमाउन पनि तयार भएर मैले शिरमा रातो फेटा बाँधेकी छु ।
मेरो भाइ बुझ्ने नहुँदै आमाले पैत्रिक सम्पत्तिमा उसको नाम चढाइसक्नुभएको थियो । छोराहरूका लागि सम्पत्तिमाथिको अधिकार जन्मजात हो । छोरीहरूको मुखबाट सम्पत्तिको ‘स’ मात्रै निस्किँदा समाजको कठघरामा उभिनुपर्छ । मानौं— उनीहरूले सामाजिक अपराध गरेका छन् । तर, अब त्यस्तो हुँदैन । म घरबाट अंश लिन्छु । आफ्नो काम गर्छु । मन पर्ने कोही भेटे बिहे गर्छु, नत्र घुमेर जिन्दगी बिताइदिन्छु ।
...
मेरो गाउँको एक जना कान्छा हजुरबुबाले ७० को दशकमा भन्सारको जागिरबाट बोनस पाउनुभएको रहेछ— ५ हजार । हजुरबाले कान्छी आमालाई भन्नुभो, ‘तिमी भोलि नै गएर नयाँ सुनको गहना बनाएर लगाऊ है । तिमीलाई अहिलेसम्म केही जोडिदिनै पाएको छैन । कस्तो मन पर्छ, त्यस्तै बनाएर लगाऊ ।’
कान्छी आमा दूरदर्शी हुनुहुँदो रहेछ । उहाँले भन्नुभो, ‘सुन लगाएर के गर्नु ! बरु अलिकति पैसा थपेर जग्गा किनौँ । जग्गा नै जोडौँ ।’
हजुरबालाई सुनका गहना किनिदिन मन थियो । हजुरआमालाई जग्गामा लगानी गर्न । केही दिन सल्लाहपछि ५ हजारमा जग्गा किन्नुभयो । जग्गामा बा–आमाका दुई छोरीहरूले पनि खूब मेहनत गरे । सकेजति काम गरेर सघाए । पानी लगाउने, सिजनमा खेती गर्ने, रोपाहारलाई खाजा बाँड्ने, रोपाइँ गर्ने सबै गर्नुभयो । तर, ती दिदीहरूका भाइ जुल्फी कोरेर, साइकल हुइँक्याउँदै दौडिन्थे । ती दिदीहरूको १६–१७ वर्षमै बिहे भयो । आ–आफ्ना घर जानुभो । घरमा कान्छी हजुरआमाकै हालीमुहाली थियो । जग्गाको भाउ ५ हजारबाट २० हजार, ५ लाख, ५० लाख हुँदै ५ करोडसम्म पुग्यो । जुल्फी कोर्दै टोलटोल दौडिने ती भाइ अहिले त्यो जग्गाका मालिक छन् । कार चढेर हिँड्छन् । त्यो खेतमा दिनरात घोटिएका दिदीहरू बसमा कोचिएर माइत आउँछन् । घर फर्किने बेला कान्छी आमाले हातमा सय रुपैयाँ थमाइदिनुहुन्छ ।
एक पटक दिदीहरूले कसैसँग पोख्न नसकेको गुनासो मसँग पोख्नुभयो, ‘बिहे नहुँदा माइतमा कति दुःख गरियो गरियो नानी, अहिले आ’र तीजमा एक छाक खान नि बोलाएनन् । माइत भन्या आफ्नो नहुँदो रै’छ ।’ सोच्छु— हजुरबुबाले किनेको जग्गाको मूल्य कुनै दिन सायद ५० करोड पुग्नेछ । ती दाइको रवाफ अझै बढ्नेछ । अनि म ती दाइकी छोरीलाई हेर्छु अनि कहिलेकाहीँ मन चोर्न खोज्छु । तर, ऊ सौम्य छे । ज्ञानी छे । बिस्तारै बोल्छे । ‘विवाह’ को अमृता रावजस्ती । कुशल । गुणवान् । उसलाई आफ्नो पुर्खाको केही पनि चाहिँदैन ।
ऊ भन्छे, ‘अहिलेसम्म पढाएर यत्रो बनाउनुभयो अनि मैले हक दाबी गर्ने ? मलाई त केही पनि चाहिँदैन । म त आफैं कमाउँछु । आफैं आफ्नो घर बनाउँछु । आफैं जागिर खान्छु । पढ्छु । जोसँग भन्नुहुन्छ, उसैसँग बिहे गर्छु । आमाबुबाले नराम्रो खोज्नुहुन्न ।’
हो, ऊ विद्रोही छैन । उसलाई आफ्नो अधिकारबारे त थाहा छ, तर उसलाई त्यो अधिकार चाहिएको छैन । त्यसैले ऊ यो समाजको ज्ञानी छोरी हो । ‘सके आफ्नो बा–आमाका लागि अझ धेरै गर्छु, तर मलाई पैत्रिक सम्पत्ति चाहिँदैन ।’
आहा ! कति राम्रो ! नेपाली समाजलाई चाहिएको असल छोरी यस्तो पो हो ! अनि यस्तै असल छोरीहरू मात्रै पछि गएर संस्कारी बुहारी बन्न सक्छन् ।
आफू परियो ठ्याक्कै उल्टो ।
वैशाखतिर भारत भ्रमण सकेर धनगढी हुँदै काठमाडौं आउन लागेकी थिएँ । धनगढीको ३८ डिग्री गर्मीमा १ बजे उड्ने फ्लाइटलाई ५ बजेसम्म पर्खिएर बस्नुपरेको थियो । यो धनगढीको लागि नौलो कुरै भएन । त्यहाँ थरीथरीका मान्छे थिए । गर्मीले खपिनसक्नु भएर म पंखाको मुनि गएर भुइँमा थचक्क बसेँ । ब्यागबाट पानी–बोतल झिकेँ । मेरो आँखा एक महिलासँग पुगेर अडियो । उनी मुसुक्क हाँसिन् । उनकी दुई वर्षकी जति छोरी पनि साथमा थिइन् । छोरी मसँग निकै झ्याम्मिएकी थिई । ऊ घरी–घरी मेरो नजिक आउँथी, आफ्नो खेलौना दिन्थी, हाँस्थी, दौडिन्थी । मलाई यस्ता चकचके बच्चाहरू मन पर्छन् । ती दिदी मेरो नजिक आएर बसिन् । छोरी खेल्दाखेल्दा थाकेर सुस्ताउन लागेकी थिई । ‘बिहे भाको छ त ? छैन होला नि ?,’ उनले प्रश्न पनि आफैं सोधिन्, उत्तर पनि आफैं अनुमान लगाइन् ।
‘छैन,’ म हाँसें ।
उनले सकेजति ज्ञान बाँड्न थालिन् । म यदाकदा भेटिने महिलाहरूका गफ चाख मानेर सुनिदिन्छु । केही समयका लागि भेटिएका अञ्जान मान्छेसँग उनीहरू आफ्ना वर्षौं पुराना गुनासा असरसल्ल पारेर पोखिदिन्छन् ।
‘बिहे बेलैमा गर्नुपर्छ के नानी । बच्चाहरूले पनि कति रुचाउने रै’चन नि । बिहे गरेर बेलैमा छोराछोरी पाउनुपर्छ के,’ म मुसुक्क हाँसें । मलाई यस्तो बेलामा जवाफ दिन खासै आउँदैन ।
‘बच्चा पाउन बिहै नै गर्नु पर्दैन, म ‘सिंगल मदर’ भएरै जीवन बिताइदिन सक्छु,’ उनलाई म यही भन्न चाहन्थें तर सुनें मात्रै, बोलिनँ । उनले अब आफ्नै कथा सुनाउन थालिन्, ‘मेरी अर्की छोरी छे ११ वर्षकी । यो त कान्छी हो ।’
‘ओहो ! अनि यत्रो ग्यापमा किन पाउनुभा’को नि ?,’ उनका ठूलाठूला गाजलु आँखामा एकाएक आँसु देखिए ।
‘के गर्नु नानी, भन्यो भने भन्याजस्तो हुन्छ । एउटा छोरी भइहाल्यो अब एउटा छोरा होस् भनेर पर्खिंदा पर्खिंदा... !’
उनी बोल्नै सकिनन् । घुटुक्क थुक निलिन् । मैले उनीतिर पानीको बोतल तेर्स्याएँ । उनले पानी समाउँदै गर्दा आँखाबाट आँसु बगे । उनले फेरि भन्न थालिन्, ‘मेरा ससुरा पनि एक्ला छोरा, बूढा पनि एक्ला छोरा, तर मेरो आफ्नो छोरा भएन । सम्पत्ति छ, छोरा छैन । ठूलीले बहिनीलाई कति माया गर्छे । तर, पनि छोराको रहर लाग्ने रहेछ । तर, भएन त भएन भनेर चित्त बुझाइसकियो । ज्यान पनि कति बिग्रिसक्यो ।’
उनले आफैं गुनासो गरिन्, आफैं चित्त बुझाइन् । मैले चुपचाप सुनिरहें । ‘छोरीहरूलाई राम्रोसँग पढाउने अब । त्यसैले घर बनाउने जग्गा हेर्न काठमाडौं जान लागेको । एक जना दाइले कीर्तिपुरमा भन्नुभएको छ,’ उनले फरर फेहरिस्त सुनाइन् ।
प्लेन चढ्नुअघि मैले भनें, ‘दिदी, प्रकृतिले तपाईंलाई कुनै न कुनै उद्देश्यले यो धर्तीमा पठाएको छ । तपाईंका दुई छोरीलाई पनि त्यस्तै केही उद्देश्य दिएर पठाएको छ । त्यो उद्देश्य तपाईं तीन जनाबाटै मात्रै पूरा हुन्छ । त्यसका लागि छोरा चाहिँदैन । यत्ति बुझ्नुभो भने जीवन सार्थक हुन्छ ।’
उनी नाजवाफ भएर सिटतिर लागिन् । काठमाडौंमा ओर्लिने बेला उनले मुख खोलिन्, ‘तपाईंले भन्नुभएको कुराले मलाई भित्रैसम्म हान्यो । फेरि धनगढी आउँदा फोन गर्नुहोला, खाना खाउँला है ?’
मोबाइल नम्बर दिएर उनी अलप भइन् ।
...
एक चिनेकी बहिनी छिन् । उनको २३ वर्षमै बिहे भयो, आफूभन्दा १० वर्ष पाको केटासँग । बुबाआमाकी असल छोरी बनेर उसले बिहे गरी । उसको परिवारसँग पोखरा र काठमाडौंमा जतिसक्दो सम्पत्ति छ । त्यो उसका बाले कमाएका होइनन् । पुर्ख्यौली सम्पत्ति हो । तर, ती बहिनीको वैवाहिक जीवन सोचेजस्तो भएन । उनीहरू दुवै जना व्यक्ति असल थिए, तर एकअर्काका लागि बिलकुलै गलत । लामो संघर्षपछि उनीहरूले छुट्टिने निर्णय गरे ।
उनले आफ्नो श्रीमान्बाट केही पाइन । उनीसँग आफ्नो नामको केही छैन । जसोतसो एउटा कोठा लिएर बसेकी छन् । दिनभरि काम गर्छिन् । हेर्दा बिन्दास लाग्छिन् । तर, उनलाई ‘डिभोर्सी’ को ट्याग दिँदै ‘बिचरी बिचरी’ गर्नेका संख्या गनिनसक्नु छ । बिचरी त उनी पहिला थिइन्, जब सम्बन्धमा थिइन् । ‘जसरी पनि सम्बन्ध बचाएर बस’ भन्नेजस्ता सडेगलेका सुझाव उनले अनगिन्ती पाइन् । तर, अन्ततः स्वतन्त्रताको जित भयो ।
तर, त्यसका लागि उनले ठूलै मूल्य चुकाउनुपर्‍यो— डिप्रेसन, उदासी, एक्लोपन, आर्थिक कमजोरी आदि । उनका बुबा र दाइ करोडौंका मालिक थिए । दुबईमा पारिवारिक भ्याकेसन गरिरहेका थिए । तर, उनी जिन्दगीको खराब दिनहरूसँग लडिरहेकी थिइन् । समाजबाट थोरै अलग्गिएर आफ्ना लागि गरेको निर्णयका कारण यत्रो संघर्षमा परिवारले पनि एक्लै छोडिदियो । सोच्दा कुनै बलिउड फिल्मजस्तो लाग्छ । आजकल बेलाबेला आमाले फोन गरेर भन्छिन् रे, ‘के गर्नु, तेरो भाग्य यस्तै रहेछ ।’
उनी अब हाँसेरै यस्ता कुरा उडाइदिन्छिन् । तर, म उनका आँखा बुझ्छु । ती आँखाले खोजिरेहेको सहारा देख्छु ।
एउटै कोख, एकै बाआमा, एकै घर, एउटै सिकाइ । तर, जब समानताको कुरा आउँछ— यो समाजको सोचाइ यति धेरै किन पिछडिएको छ ? बा–आमालाई अझै पनि छोरीको बिहे गरेर दिन पाए टाउकोबाट ट्युमर हटाएजस्तो महसुस किन हुन्छ ? ‘यही एउटा पीर थियो अब हलुंगो भयो’ भन्नेजस्ता वाक्य किन हरेक विवाहमा सुनिन्छ ?
कथम्कदाचित छोरीले आफ्नो हक–अधिकारको कुरा उठाइहाली भने यो समाजले जिब्रो टोक्छ । त्यसैले अधिकांश छोरीहरू आफ्नो अधिकारका लागि लड्न चाहँदैनन् । चलिआएको रीतअनुसार उनीहरू बुबाआमाका प्यारा र संस्कारी छोरी बनेर बिहेबारी गर्छन् अनि सुटुक्क माइतीको संसारबाट बिदा हुन्छन् । उनीहरूभित्र चर्को द्वन्द्व हुन्छ, जीवनभरका गुनासा हुन्छन्, तर पनि देवताजस्ता बाआमाका अघि प्रश्न उठाउन सक्दैनन् । किनकि उनीहरू छोरी हुन् ।
एउटी आमाले आफूमाथि भएको भेदभावको ईख लिएर जबसम्म आफ्ना छोरीहरूलाई समान व्यवहार गर्दैनन्, तबसम्म यहाँ हरेक पुस्ताका छोरीहरू पिल्सिरहनेछन् । हरबखत महिलामाथि प्रश्न उठाउन तम्तयार यो समाजसँग लड्ने त परको कुरा, छोरी आफैंसँग लड्न सक्ने छैनन् । छोरीको यो आत्मसम्ममानका लागि हरेक आमा अराजक हुनैपर्छ । जब एक आमाले आफ्नो छोरीलाई आफूजस्तै बनाउन खोज्छिन्, आफ्ना संघर्षका कथा सुनाएर छोरीलाई उति नै सहनशील बनाउने प्रयास गर्छिन्, समाज त्यहीँनेर पिछडिन्छ ।
मेरी आमाले जीवनभर भोगेका दुःख अनन्त छन् । उहाँका पीडा र संघर्ष म कल्पना गर्न सक्दिनँ । त्यसैले मलाई आमाप्रति गहिरो सम्मान छ । तर, उहाँ अझै पनि पितृसत्ताको रक्षामा लागिरहनुभएको छ । मेरी आमाले मलाई जति माया र विश्वास गरे पनि ‘छोरी भएपछि सहनशील हुनुपर्छ, बिहे गरेर चुपचाप जानुपर्छ, आफ्नो भाग्यले गरिखानुपर्छ’ भन्नुका पछाडि उहाँले भोगेको समाजको छाया छ । म त्यही छाया मेट्न हिँडेकी छु ।
किनकि— सम्पत्तिमाथिको अधिकारले मात्रै समाजमा महिलालाई ठिंग उभिने साहस र शक्ति दिन्छ ।
म आमालाई सम्मान गर्छु, तर प्रश्न गर्न डराउँदिनँ । म एक्लो बाँच्न तयार छु, तर आत्मसम्मान गुमाउन तयार छैन । म असंस्कारी बन्न तयार छु, तर चुपचाप समाजको नियम मान्न तयार छैन । मलाई मेरी आमाजस्तो बन्नु छैन । मेरी छोरीलाई म आफूभन्दा अराजक बनाउन चाहन्छु । जबसम्म महिलाहरू महिलाका लागि जाग्दैनन्, तबसम्म समाजमा पितृसत्ता मौलाइरहन्छ ।
हामी महिला सशक्तीकरणका कुरा गर्छौं, तर आफ्नै घरमा आफ्नै दिदिबहिनी, आमा र आफैंमाथि भएका अत्याचारबारे बोल्न सक्दैनौं । किनकि हामी यही पितृसत्ताका दास हौं ।
यो सबै लेखिसक्दा ती महिलाहरूप्रति मेरो केही आपत्ति छैन, जो आ–आफूले रोजेको जिन्दगीमा खुसी छन् । जसका लागि केटी भएपछि समयमै बिहे गरेर बच्चा जन्माउनु प्राकृतिक नियम हो । जसका लागि आफ्ना इच्छा र आकांक्षाको कुनै मोल छैन । जो आफ्ना बा–आमाको मनशान्तिका लागि लागि पराई घर गइदिन्छन् । उनीहरूसँग केही गुनासो छैन । सबै लड्न सक्दैनन् । कोही लड्नै चाहँदैनन् ।
हामीजस्ता लड्नेहरूको जीवन कठिन छ । एक त यो बाटोमा एक्लोपन धेरै छ । ‘फेमिनिस्ट’, ‘डलरवादी’ र ‘परिचालित’ भन्दै हरपल यो समाज आलोचना गरिरहन्छ । भन्छ– यिनीहरू लेखमा र कार्यक्रममा कुर्लंने न हुन्, यिनीहरूकै व्यक्तिगत जीवन र मानसिक स्वास्थ्य ध्वस्त हुने त हो नि !’ तर, आफ्नो हक माग्न छोड्ने होइन । त्यसका लागि आफ्नै बा–आमालाई अदालतसम्मै घिसार्न किन नपरोस् !

कोसेली

चित्र : इतिहासको दस्तावेज

- मन गुरुङ

हाम्रा गाउँ–घरले काँचुली फेरेका छन् । खाने, बस्ने, लगाउने शैलीदेखि कला–संस्कृतिसम्ममा द्रुत गतिमा परिवर्तन आएको छ । गाउँका आधाजसो युवा वैदेशिक रोजगारमा छन् । गाउँमा त आमा, बुबा, बालबालिका र महिला मात्रै छन् । उनीहरुको दिनचर्या, जीवन पूरै विदेशी भइसकेको छ । मेरो गाउँ गोर्खा, धार्चे गाउँपालिका–३ हो । यहाँ १० वर्षअघि जुन दृश्य देखिन्थ्यो, त्यो अहिले देखिँदैन । मलाई थाहा थियो, यो परिवर्तनले हाम्रा पुर्ख्यौली संस्कृति, जीवनशैली र पोसाक लोप हुँदै छन् ।
सोचेँ, कमसेकम त्यो परिवर्तन तस्बिरमा कैद त गर्न सक्छु । अनि मैले गाउँभरिका बूढाबूढी, बालबालिका, महिलासँग भेटेँ । उनीहरुलाई परम्परागत वेशभूषा लगाउन लगाएँ र तस्बिर खिचेँ । ती तस्बिर सँगालेरै राखेको थिएँ । म पढाइको सिलसिलामा सन् २००५ मा विदेश गएर ५ वर्षपछि फर्किएँ । फर्केपछि देखें– आफ्नै गाउँ चिन्न नसक्ने भएछ । मैले तस्बिर खेचेका कतिपय बूढाबूढी नै बितिसकेछन् । गाउँको दोहोरी स्कुलको स्टेज कार्यक्रममा सीमित भएछ । घाटु नाच नाच्ने पाका पुस्ता नै हराएछन् । मान्छेका शरीरमा गुन्यु–चोली, घलेक, बख्खु देखिन छाडेछन् । गुन्द्रकको झोल भनेको के हो ? भन्ने पुस्ता जन्मिएछन् । मोही र मकै खाएर दिनभरि बारीमा काम गर्नेहरु हराएछन् । गाउँमा देखिए– हातमा चाउचाउका पोका र कोक बोकेका केटाकेटी मात्रै । खेतीपातीबाट जीविकोपार्जन गर्ने गाउँ रेमिट्यान्सको भर पर्न थालेछ ।
त्यसपछि मैले ‘टेल्स अफ माइग्रेसन’ थिममा चित्र कोरेँ । ती चित्रमा मैले रेमिट्यान्सको पुस्ता झल्काउने प्रयास गरेको छु । चित्रकला इतिहासको दस्तावेज हो, जहाँ समकालीन कलाकृति र तत्कालीन परिवेश संगृहीत हुन्छ । अब यी तस्बिरका मान्छे भेटिँदैनन् । न त यो दृश्य नै देखिन्छ । तर, मैले कोरेका चित्रहरु सयौं वर्ष जीवित रहनेछन् । समय फेरिएसँगै यी दृश्य अर्को पुस्ताले देख्न पाउँदैन कि भन्ने चिन्ताले पनि यी चित्र बनाएँ । गाउँमा जे हुन्थ्यो, त्यो हराउँदै छ । यस्तो अवस्था सिर्जना हुनु मेरो विचारमा संक्रमणकालीन समय हो । रोजीरोटीका लागि आफैं गाउँ छाडेर काठमाडौंको खाल्टोमा छु । गाउँ बिर्सिने पुस्तामा म पनि एक हुँ । यद्यपि कलामार्फत गाउँ जोगाउने मेरो प्रयास छ ।

Page 12
कोसेली

बनेपा गाथाकार ज्ञानकाजी माड्साप

- दीपक सापकोटा

 

बर्खाको एक साँझ म उभिएको थिएँ, बनेपा तीनदोबाटो चोकछेउ । सँगसँगै ज्ञानकाजी मानन्धर ‘माड्साप’ पावरवाला बाक्लो चस्मा ठीकमुन्तिरबाट बनेपा–गाथा गाइरहेका थिए । सडकमा ठोक्किएको बत्तीको प्रकाशमा बिस्तारै घिस्रिरहेका छाताका छायाहरूतिर हेर्दै स्थानीय इतिहास र संस्कृति फर्माइरहेका थिए– मुहारमा गणेशको गह्रुँगो मखुन्डो लगाएर हरिया, राता, पहेंँला रंगीविरंगी पहिरनमा देखिने श्वेतकाली नाचिरहेका मानिसका कथा अनि लोककथाका सेता ख्याकको बयान ।
खासमा उनी थिए– सहरका ओसिला गल्ली र घामले नछुने ठिहीग्रस्त चोकमा चुपचाप बसिरहेका मान्छेका साथी, बनेपाको घटना–प्रतिघटना, इतिहासका अनेक शासकको आगमन र बहिर्गमनको साक्षी पनि । भादगाउँले बुट्टे टोपी, निधारमा रातो टीका, ऊनीको फेटा, नीलो कोट– मेरो सम्झनामा यिनै थिए, उनको अक्सर पहिरन ।
लट्ठी टेकेर साँझ–बिहान बयोवृद्ध श्रीमती सुखवेती (९०) सँग बिस्तारै चोकतिर टहलिनु, मान्छेहरूले आदरसाथ गरेका नमस्कार फर्काउनु, कोही पुराना मानिस भेटे यस्सो गफिनु उनको दैनिकी थियो । अब बनेपाका चोक–गल्लीका पुराना कथा र मिथक बताउन तिनी कहिल्यै भेटिने छैनन् । अब ती दृश्य दोहोरिने छैनन् ।
गत शनिबार ज्ञानकाजी मानन्धर (विसं १९९१–२०८०) को महाप्रस्थानपछि सायद टोलाइरहेको छ त्यो चोक, शोकमग्न छ बनेपा । आफूसँग डुलिहिँड्ने माड्साप नरहेपछि श्रीमती सुखवेतीमा दुःख थपिएको छ । तर, अक्सिजनका पाइपहरूले जेलिएकी उनलाई श्रीमान् छेउमै छन्जस्तो भान छ ।
ज्ञानकाजीको प्रस्थानपछि त्यही चोकमा उभिएको छु म, जहाँ उभिएर म उनीसँग सुन्थें– बनेपाका कथा । उनी भन्थे, ‘काठमाडौं उपत्यका तलाउ छँदा बनेपा एक सानो राज्य थियो । बौद्ध आख्यानको थ्यासफूमा बनेपालाई धर्मपुर भनिएको छ । धर्मपुरका राजा धनी थिए । राजा बस्थे, त्यसैले यहाँ राजदरबार थियो...।’ यसरी उनी बनेपाको कथा हाल्थे । नामसँग कामको तालमेल अक्सर हुँदैन । तर, ज्ञानकाजी नामका मात्रै ज्ञानी थिएनन्, जीवन र जगत्को गहिरो ज्ञान पनि उनीसँग थियो, जो माड्सापको असली चिनारी हो । उनीपछि सम्भवतः यसरी आधिकारिक रूपमा आफ्नै सहरको कथा भन्ने अर्को इतिहासकार नहोला ।
शिक्षाविद् केदारभक्त माथेमाले ज्ञानकाजीसँग लामो संगत गरे । उनीसँग माथेमाका थुप्रै सम्झना छन् । नेपाल भाषामा मानन्धरले लेखेको नाटक ‘कपिलवस्तुस्् भगवान्’ काठमाडौंको सभागृहमा केही दशकअघि हेरेको स्मृति ताजै छ माथेमासँग । ‘यसको लोकप्रियताले नाटक लेखनमा ज्ञानकाजीले हासिल गरेको कौशल उजागर गर्छ । बुद्ध मिथकमाथिको त्यो नाटक प्रभावशाली थियो । उनीसँग नेवारी मिथोलजीबारे गहिरो ज्ञान थियो,’ माथेमा भन्छन्, ‘नेपालभाषामै लेखेर उनी कुनामा परे । तर, मुख्य विषय त भाषा होइन, सिर्जना हो । इतिहास, व्यापार र शिक्षा– तिनै पक्षलाई उनले कसरी सँगै हिँडाए, यो अचम्मलाग्दो छ ।’ काठमाडौं र काभ्रेका धेरै ठाउँमा ज्ञानकाजीका नाटक प्रदर्शन भएका थिए, धेरैले रुचाएका पनि थिए ।
मिथक, इतिहास र संस्कृतिसँग गहिरो नाता थियो ज्ञानकाजीको । नेपाली संस्कृतिका ती विद्वान्का प्रकाशित किताब हुन्– ‘कुमारी’, ‘कपिलवस्तुस् भगवान्,’ ‘अरनिकोया श्वेत चैत्य’, ‘खड्गजोगिनी,’ ‘मानन्धरतय्गु विषय छुं खँ’, ‘छगु पश्चात्ताप’, ‘झीगु आख्यान ः झिगु प्याखं’, ‘बनेपा–स्तवन,’ ‘बनेपा सातगाउँ’, ‘संस्कृतिका केही पक्ष’, ‘नेपाल आख्यान र नाटक,’ ‘चण्डेश्वरी र प्राचीन भजन गीतहरू,’ ‘नेपाल लिजेन्ड एन्ड ड्रामा,’ ‘द लिजेन्ड्स अफ् नेपाल,’ र ‘मिथ्स एन्ड लिजेन्डस् अफ् नेपाल’ (इतिहास–संस्कृति र पूर्णाङ्की नाटक) । नेवा, खस नेपाली र अंग्रेजी भाषामा प्रकाशित यी कृति उनको गहिरो साधना, अनुसन्धान र सिर्जनशक्तिबाट मात्रै सम्भव थियो । अंग्रेजीका शिक्षक, नेपाल भाषाका नाटककार, खस नेपाली भाषाका प्राचीन संस्कृति–अन्वेषक मानन्धरको बनेपामा ठूलो स्थान छ ।
सांस्कृतिक इतिहासमा अहोरात्र चिन्तनशील ज्ञानकाजीले हामीलाई नयाँ निष्कर्षसम्म पुग्न सक्ने केही चर देखाएका छन् । दायाँ हातमा चन्द्रहास तरबार र बायाँ हातमा ‘प्रज्ञापारमिता’ किताब लिएका विद्वान् बौद्ध सन्त मञ्जुश्री बोधिसत्त्वलाई ज्ञानकाजीले बनेपाको इतिहाससँग जोडेका छन् । काठमाडौं उपत्यका नागदह (ठूलो तलाउ) छँदै मञ्जुश्री महाचीनबाट श्रीमतीहरू (केशिनी, उपकेशिनी) र केही चेलासँग नागदह आउँदा बनेपाको बाटो हुँदै आएका थिए, लेखेका छन् ज्ञानकाजीले । ‘धार्मिक नियमअनुसार कुनै पवित्रस्थललाई दाहिनेतिरबाट घुम्ने चलन छ, त्यसैले मञ्जुश्री नागदह आउँदा बनेपाकै बाटो आएको हुनुपर्छ । मञ्जुश्री बनेपा आउँदा यहाँका राजा धर्माकरसँग भेट भएको हुनुपर्छ, धर्माकार उनीसँग नागदह गए । ...तरबारले चोभार काटेर उपत्यकाको पानी सुकेपछि मञ्जुश्रीले मञ्जुपतन बस्ती बसाए र सँगै लिएर आएका धर्माकरलाई राजा बनाए ।’ (संस्कृतिका केही पक्ष, पृष्ठ. ५२) । तर, नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठले मञ्जुश्रीको त्यस मिथकलाई खण्डन गरेका छन् । पुष्पलाललाई उद्धृत गर्दै ज्ञानकाजी लेख्छन्, ‘साँखुका आख्यानअनुसार मञ्जुश्री न चिनियाँ थिए, न भारतीय, उनी साँखुका एक महापुरुष थिए ।’ यसरी ज्ञानकाजीले ऐतिहासिक पात्रहरूमाथि मीमांसा मात्रै गरेका छैनन्, पृथक दाबी पनि गरेका छन् ।
संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन्, ‘कुमारी नाटक रुसी भाषामा अनुवाद भई मस्कोस्थित नेपाल अध्ययन केन्द्रबाट सन् २००५ मा प्रकाशित भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा ज्ञानकाजी बहुचर्चित भए । तर, विडम्बना सिर्जनशील प्रतिभा भएका हाम्रा अधिकांश स्रष्टाहरू ओझेलमा सास फेर्न बाध्य छन् ।’ (ओझेलमा परेका स्रष्टाहरूमध्येका ज्ञानकाजी, जनमत, अंक १९३) ।
...
कुहिरिलो एक बिहान म मित्र दिनमान गुर्मछानलाई लिएर ज्ञानकाजीसँग ‘यसो कुरा गर्न’ गइरहेको थिएँ उनको घर । लायकुको जीर्ण पर्खाल देखेपछि उनले गरेको लायकु–व्याख्या सम्झना आएको थियो । के हो लायकु ? मल्लकाल अध्ययन गरेका उनले भनेका थिए, ‘लायकु भनेको राजकुल अथवा लालकुल हो । लालकुलबाट लायकु शब्दको व्युत्पत्ति भयो ।’ उनैले सुनाएका हुन्– नेवारी भाषामा ‘बने’ शब्दले ‘व्यापार’ र ‘पा’ शब्दले ‘देश’ वा ‘बस्ती’ बुझाउँछ । कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले काभ्रेमा छरिएका स–साना ७ सहर (बनेपा, पनौती, नाला, धुलिखेल, खड्पु, चौकोट र साँगा) मिसाएर एउटै राज्य बनाएका
थिए । ‘बनेपा सातगाउँ’ मा यस विषयमा उनले विशद लेखेका छन् ।
इतिहासकार महेशराज पन्तलाई लागेको छ– ज्ञानकाजी गएसँगै एक ज्ञानी, जान्ने मान्छे पनि गए र इतिहास लेखनमा एउटा क्षति भयो । पन्त भन्छन्, ‘ज्ञानकाजीले बनेपा, त्यस वरपरका गाउँ–सहरको कथा संग्रह गरे र मान्छेहरूलाई छाडेर गए । बनेपाको इतिहास खोतलखातल पारे । जीवनैभर शिक्षासेवी भएर ज्ञान बाँडिरहे । नेवारकालका ऐतिहासिक सामग्री र लिखतका थुप्रै संकलन उनीसँग थिए ।’ ज्ञानकाजीको अनुरोधमा (विसं २०७३, पुस २७) संशोधनमण्डलका केही साथीसहित बनेपा गएका थिए पन्त । उनको संग्रहमा रहेको ताडपत्रका लिखतहरूको फोटो खिचे पन्तले । तीमध्ये एउटा थियो– तात्कालिक राजा अर्जुनदेवले बनेपाका मानन्धरहरूलाई सम्बोधन गरी लेखेको नेपालसंवत् ४८५ (विसं १४२२) को लिखत । ‘ज्ञानकाजीको घरमा भएको त्यो लिखतबाट विसं ७९० पछि एकै पटक १४२२ को राजाको अभिलेख भेट्टाइयो । ७०० वर्षको अवधिमा राजाहरूले लेखेको केही पाइएको थिएन । त्यति महत्त्वपूर्ण सामग्री उनले आफ्नो संग्रहमा राखेका रहेछन्,’ पन्त सम्झिन्छन् । त्यस लिखतको व्याख्यासहित पन्तले ‘पूर्णिमा’ को १४४ अंकमा एक आलेख लेखेका छन् ।
ज्ञानकाजीलाई चिन्ता थियो– अब सहरको इतिहास किस्साहरूमै सीमित
हुने भए । उनका स्मृतिमा ओहोरदोहोर गरिरहन्थे– बनेपाका पुराना मान्छे, दरबारका आख्यानहरू, जुन अब केवल धुलाम्य दस्तावेजहरूमै कतै च्यापिएका छन् । लेखक विश्व सिग्देलको विचारमा ज्ञानकाजी होहल्लाबाट टाढै बसेर अक्षर साधनामा लागेका शिक्षा, संस्कृति र साहित्यका त्रिवेणी हुन् । भन्छन्, ‘समाजको जरोमा गाडिएर रहेका मिथक र जात्रापर्वको सांस्कृतिक तथा ऐतिहासिक पाटोलाई लिपिबद्ध गर्ने मानन्धर काभ्रेको माटोले सधैं गर्व गरिरहने स्रष्टा हुन् ।’
ढुंगा छापिएको बनेपाली प्राचीन गल्लीमा हिँडिरहेका ज्ञानकाजीको स्मरण मसँग ताजै छ । लौरो टेकेर हिँडिरहेकै बेला उनी केही झस्केजस्तो गर्थे र छेउकै पुरानो बजारको कृष्ण–मन्दिर वा शताब्दिऔं पुराना ढुंगेधाराको मिथक वा इतिहास भनिरहेका हुन्थे वा ‘भगवान’, ‘राक्षस’, ‘देवी’ का कथाहरूमा पसिरहेकै हुन्थे । उनका सम्झनाका एल्बममा आफूले पढाएको आजाद स्कुल (विसं २०१७–२०४५) का विद्यार्थीहरूको तस्बिर पल्टिन थाल्थ्यो । र, प्रत्येक श्यामश्वेत तस्बिरमा आउँथे बनेपाका पुराना समय– सिथि नखः र लायकु, मिथक र भजन, स्थापत्य र मन्दिर, चण्डेश्वरी देवीका कथा, पाटीमा टोलाइरहेका बाघचाल खेलाडीहरू ।
सिमेन्टका अग्ला घरहरूले छेकिएका घाम नपस्ने गल्लीमा उभिएर उनी चिन्तित मुद्रामा गम खाइरहेका हुन्थे । बनेपाको उप्किँदै गएको चित्र देखेर उदास हुन्थे । बदलिँदो बनेपाको अनुहारले उनलाई चिमोटिरहन्थ्यो । पटना विश्वविद्यालयबाट विसं २०१७ मा स्नातक गरेपछि उनले बनेपाको आजाद हाइस्कुलमा अंग्रेजी पढाउन थालेका थिए । शैक्षिक इतिहासमा रोचक तथ्य यो छ कि उनी बनेपा नगरकै प्रथम स्नातक हुन् । ज्ञानकाजीका प्रिय विद्यार्थी थिए– लेखक मोहन दुवाल । गुरुले वर्डस्वर्थका कविताहरू– लुसी ग्रे र सोल्टरी रिपर– लय हालेर पढ्दै सिकाउँदाका ती दिन अहिले पनि सम्झनाम ताजै
छन् । ‘उनी थिए– मेरो मस्तिष्कमा ज्ञान भरिदिने आदरणीय ज्ञान–गुरु,’ दुवाल भन्छन्, ‘उनी हुन्, मेरा जीवनका ज्ञान निर्देशक ।’
ज्ञानकाजीको परिवारै संस्कृति–पारखी थियो । उनका पिता मोहनलाल खिं मानन्धर पनि संस्कृति–चिन्तन गर्थे, नाटक लेख्थे–मञ्चन गर्थे, ज्योतिषी थिए, खिं, धिमे, पछिमा, नाय्खिं, दवदव बजाउँथे । त्यसैले ज्ञानकाजीको रुचि संस्कृतितिर बढ्नु अनौठो थिएन । सुखद पाटो के थियो भने संस्कृतिप्रति उनको रुचि ‘सुन्दै आएको’, ‘भन्दै आएको’ भन्नेमा थिएन, तथ्य, प्रमाण वा दसीमा आधारित थियो ।
सामान्यतया संस्कृतिका पारखीहरू दन्त्यकथा र किंवदन्तीलाई ‘विश्वासको आधार’ बनाउँछन् । तर, ज्ञानकाजीको सांस्कृतिक ज्ञान विज्ञानमा पनि आधारित थियो । उनले संस्कृतिबारे त्यस्ता विषय मात्रै लेखेका छन्, जसको दसी उनी आफैंसँग सुरक्षित थियो । आफूसँगै सुरक्षित कतिपय ऐतिहासिक दस्तावेजबारे त उनले लेख्नै पाएनन् । मानन्धर समुदायमाथिको उनको किताब ‘मानन्धरतय्गु विषय छुं खँ’ लाई सूचनै सूचनाहरूको पोको मान्न सकिन्छ ।
ज्ञानकाजीबारे सोधखोज गरिरहेका लेखक सुरेश किरण भन्छन्, ‘उनी पूर्णकालीन अन्वेषक थिएनन् । उनको पेसा, व्यवसाय, जिम्मेवारी र रुचि अरू पनि थिए । त्यसैले उनले आफैंसँग भएका सामग्री पनि लेखनमा उतिविधि प्रयोग गरेनन् । ती दस्तावेज अरूलाई प्रयोग गर्न दिए ।’
ज्ञानकाजीसँग भएको दस्तावेजको हवाला दिएर उनका मित्र जितबहादुर मानन्धरले पनि संस्कृतिमाथि कतिपय लेख लेखेका छन् । ती दस्तावेज आफूसँगै राख्दा नष्ट हुन सक्ने भयले उनले केही कागजपत्र, ताडपत्र काठमाडौंको आशा सफूकुथि (आर्काइभ) लाई पनि दान गरेका छन् । ‘इतिहासका ती सामग्रीमाथि भोलि अरू नै कोही आएर न्याय गर्ला भन्ने विश्वास उनमा थियो सायद’, सुरेश भन्छन् ।
राज्य व्यवस्थाबाट सधैं उत्पीडनमा परेको आफ्नो जातीय–भाषिक समुदायप्रति पनि उनको ठूलो लगाव थियो । नेपालभाषा एकेडेमी र नेवाः जातिको राष्ट्रिय संगठन ‘नेवाः देय् दबू’ मा पनि आबद्ध भई काम गरेका थिए उनले । जीवन बुझ्ने मार्ग नै संस्कृति, मिथक र इतिहासलाई बनाए माड्सापले । सरल, संवेदनशील र ज्ञानी ती मानिसले केवल संस्कृतिका रूप–रङ–रीतिस्थिति लेखेनन्, स्वयं पनि सांस्कृतिक धरोहरै भएर बाँचे ।
ऐतिहासिक दरबार र खण्डहरका अवशेषलाई इतिहासको कसीमा घोट्थे उनी र तत्कालीन समाजको एउटा मोटामोटी स्वरूप नियाल्थे । संस्कृति, साहित्य र शिक्षा– यी तीन विधा हुन्, जसमा उनले आफ्नो जीवनका स्वर्णिम समय बिताए । लायकुझैं ज्ञानकाजीले बनेपा काँथुटोलको ‘मयजुकः दरबार’ र वकुटोलको ‘पुतली दरबार’ माथि पनि खोज गरेका थिए । इतिहासकार केदारनाथ प्रधानले ‘बनेपाको ऐतिहासिक रूपरेखा’ मा पनि ती दरबारमाथि लेखेका छन् । ज्ञानकाजी भन्थे, ‘काँथुटोलमा बारीहरू खन्दा पुराना भवनका ठूला जग देखिन्छन् भन्ने किस्सा अझै छ । वकुटोलमा पनि पुराना दरबारका अवशेष भेटिने गरेको सुनिन्छ । ती दरबारहरूबारे कसैले खोजे इतिहासका केही विशिष्ट तथ्य फेला पर्थे कि ?’
तर, उनले भनेझैं अब कसले गर्ला त्यो खोजीमेली ?

कोसेली

आउनुहोस्, कथा सुनौं !

- घनश्याम खड्का

 

काठमाडौंमा महिनैपिच्छेजसो कुनै जात्रा लागि नै रहन्छ । एउटा अलिखित समयमा कुनै जात्रा हेर्न जामन गुभाजु पुगेका रहेछन् । तन्त्र विद्याका कारण उनी तीनै लोकमा कहलिएका थिए । नेवारी भाषामा जामनको अर्थ हुन्छ– भातै खानु नपर्ने । तन्त्र विद्याको बलले अन्न–पानीको सहारा नलिईकनै महिनौंसम्म उनी बाँच्न सक्थे । अमानुष र देवताहरू समेतको भाषा बुझ्न सक्थे । भूतप्रेतलाई कजाउने मामिलामा सिद्धहस्त थिए !
अहिले पनि काठमाडौंका गल्लीगल्लीमा गुभाजुका यी तिलस्मी किस्सा सुनाउने, सुन्ने दुवैका आँखामा अचम्मको भाव टल्किरहेको भेटिन्छ । यस्ता अवतारी गुभाजुले त्यस दिन जात्रामा कसैले नदेखेको एउटा कुरा देखेछन्– त्यो के भने, मान्छेको वेशमा कल्पवृक्ष जात्रा हेर्दैछ । जात्रा सकियो । जात्रालु सब गए, कल्पवृक्ष र गुभाजु मात्रै बाँकी रहे । त्यस मान्छेरूपी कल्पवृक्षलाई तन्त्र बलले गुभाजुले जानै दिएनन् । छुटकाराका लागि बिचराले अनेक बिन्ती बिसाएछ ।
‘एउटा कुरा मान्यौ भने जान दिउँला,’ गुभाजुले सर्त तेर्स्याएछन् ।
‘मान्छु हजुर, भनिपाऊँ’ बन्दी वृक्षले जौंला हात गरेछ, ‘जे भने पनि मान्छु ।’ ‘सत्तल बनाउनु छ, चाहिने जति काठ देऊ त’ गुभाजुले आवश्यकता सुनाएछन् । मान्यता के छ भने, जे मागे पनि दिन सक्ने खुबी हुन्छ कल्प वृक्षसँग । काठ त उसका लागि मामुली नै भइगयो । तत्काल गुभाजुका अघिल्तिर उसले यामानको रूख हाजिर गराइदिएछ । चाहिने जति काठ आयो, कल्पवृक्ष गयो । त्यही एउटा अजंगको रूखबाट भव्य सत्तल बन्यो । त्यसैको नाम काष्ठमण्डप हो भन्ने कथा नेवारी सभ्यतामा पुस्ता दरपुस्तादेखि भनिँदै आएको छ ।
पौराणिक स्वादको कथा बोकेको उही काष्ठमण्डप २०७२ को भुइँचालोमा ढल्यो, पुनर्निर्माणमा नेवारी पुस्ताका तन्नेरी इन्जिनियरहरू कस्सिए । काष्ठमण्डप पुनर्निमाण अभियान–२०१६ नाम दिएर उनीहरूले सिलसिलाबद्ध हिसाबले ढलेको सम्पदालाई उठाउने योजनै अघि सारे । त्यसै उपक्रममा काष्ठमण्डपको इतिहास जान्ने आवश्यकता आइलाग्यो । बुझ्दै जाँदा उनीहरूका कानले जामुन गुभाजुको यही कथा सुन्न पुग्यो ।
‘अनि हामीलाई के लाग्यो भने, काष्ठमण्डपको भौतिक संरचनाभन्दा पनि बढी महत्त्व त योसँग जोडिएको कथाको छ,’ इन्जिनियर अश्वेन वीरसिंह ताम्राकार भन्छन्, ‘हाम्रा हरेक सम्पदाहरूका चाखलाग्दा कथा रहेछन्, जो नयाँ पुस्तालाई थाहै छैन ।’
युवा इन्जिनियरहरूबीच यस्ता कथा कसरी जगेर्ना गर्ने त भन्ने बारे छलफल चल्न थाल्यो । अनि उनीहरू एउटा निचोडमा पुगे, कथा त भनेरै जोगिन्छ । ‘त्यसो हो भने पाकाहरूसँग हामी कथा सुनौं,’ उनीहरूले आफैंसँग प्रस्ताव गरे, ‘टोलटोलमा जाऊँ, कथा जान्नेहरू खोजौं र हामी भेला भएर यो सब सुनौं ।’
यसो गर्न उनीहरूले एउटा संस्थै खडा गरे, जसको नाम जुर्‍यो, ‘बाखं न्यने वा’ अर्थात् ‘आऊ कथा सुनौं’ । तन्नेरी युवाहरूको यो प्रयासले बिस्तारै आकार लिँदै गयो । सुरुमा उनीहरूले जात्रा र पर्वका सम्बन्धमा पाकाहरूसँग गएर कथा सुनाइ मागे । काठमाडौंको भीडभाडपूर्ण गल्लीमा मानिसका उदास अनुहारहरू अचानक सुकुलमा बसेर कथा सुन्न थालेको भीडतिर उत्सुक भएर उभिन थाले । यसले कथा सुन्ने सुनाउने उपक्रमलाई बल दियो ।
प्रत्येक महिनामा एकपटक बस्ती–बस्तीमा कथा सुन्ने डबली लाग्न थाल्यो । कथा सुनिसकेपछि टोलवासीले भोजसमेत पनि खुवाउन थाले । ‘छिट्टै नै हाम्रो कामले प्रशंसा बटुल्यो,’ बाखं न्यने वाकी सचिव रिजा जोशी भन्छिन्, ‘टोलटोलबाट कथा सुनाउने निम्तोसमेत आउन थालेको छ ।’ उपत्यकाबाहिर बनेपा र पनौती पुगेर उनीहरूले कथा सुन्ने काम गरिसके ।
बाखं न्यने वाका अरू सदस्यजस्तै रिजा पनि पेसाले इन्जिनियर हुन् । सहरी विकास योजनाकारका रूपमा चिनिन्छिन् । बाखंका सदस्यहरू आइतबार–आइतबार पाटनमा भेला हुन्छन् । कथा सुनाउने शृंखलाको तयारी गर्छन् । सुनिएका कथाको भिडियोहरू तयार पार्छन् र त्यसलाई इन्टरनेटमा राख्छन् । त्यसको लेख्य लिपि उतार्छन् र पुस्तक तयार पार्छन् ।
रिजालाई सानोमा उनकी अजुरआमा गणेशमाया बज्राचार्यले अनेकन कथा सुनाउँथिन्, जस्तो लाखे र योमरीको कथा । सौतेनी आमा सानी केटीलाई कम खान दिएर घरका काममा र बाख्रा चराउन खटाउँथी । केटीलाई बाख्राले आफ्नो पेटबाट जादुझैं योमरी निकालेर गुप्त रूपले खुवाउँथ्यो । खानै नदिँदा पनि मज्जाले खान पाएकी आफ्नी छोरीभन्दा सौतेनी छोरी मोटाउनुको कारण जान्ने सानी आमाको उत्सुकताले रहस्य पत्तो लगाउँछ । र, दुष्ट सानिमाले बाख्रा नै काटेर खाइदिन्छे । तर, मर्नुअघि बाख्रीले सानी केटीलाई योमरी पाउने गुप्त तरिका बताएरै जान्छे । रिजालाई हजुरआमाले योमरी पहिले चखाइन् कि त्यसको चाखलाग्दो कथा पहिले भनिन् ? उनलाई थाहा छैन । तर, के थाहा छ भने उनले सुनेको योमरीको कथा उनीपछिको पुस्तालाई थाहै छैन । गत वर्ष ८९ वर्षको आयुलाई बिसाएर हजुरआमा बितिन् । रिजाको सम्झनामा हजुरआमा कथावाचिकाका रूपमा थपक्क बसेकी छन् । संस्थै खडा गरेर आफ्नो संस्कृतिसँग जोडिएका अनगिन्ती कथा सुनाउने अभियान चलाउन पाउँदा उनलाई हजुरआमाप्रति सच्चा श्रद्धाञ्जली दिन पाएझैं लाग्छ ।
मोबाइल र इन्टरनेटले बच्चाहरू आफ्नै संस्कृतिसँग बिरानो हुन थालेका बेला मोबाइल नहुँदाको जमानामा हजुरबुवा–हजुरआमाले सुनाउने कथाहरूलाई ब्युँताउने युवा इन्जिनियरहरूको प्रयासलाई सबैले सराहना गरेका छन् । काठमाडौंका तीनै सहरका अनेकन् ठाउँ, चाडपर्व, जात्रा, देवता र पौराणिक पात्रहरूबारे सानोमा सुनेका र सुन्न छुटाएका रोचक कथाहरू गुरुकुलीय परम्परामा सुनाउने काम हुँदा बाखं न्यने वाका सदस्यहरू खुसी छन् । यसरी सुनाइएका कथाहरूलाई जुनसुकै समयमा जोसुकैले सुन्न सक्ने गरी डिजिटल प्रकाशन गर्ने काम पनि उनीहरूले गर्दै आएका छन् ।
बालबालिकाका लागि नेपालभाषा, नेपाली र अंग्रेजीमा सचित्र पुस्तक पनि प्रकाशन गर्ने काम सुरु भएको छ । नेवारी सभ्यताका बाहा, बहि र डबूजस्ता परम्परागत वातावरणमा खुला ठाउँमा उनीहरू खुला आमन्त्रणका साथ कथावाचनको आयोजना गर्छन् ।
यसका लागि पाकाहरू कथा भन्न अघि सर्छन् । तन्नेहरीहरू गहिरो जिज्ञासाका साथ सुकुलमा पलेंटी मारेर कथा सुन्न बस्छन् ।
सुरुका दिनमा उनीहरू आफैंले रकम जोहो गरेर कथावाचनका कार्यक्रमहरू आयोजना गरेका थिए । अहिले स्थानीय सरकार, क्लब, युवा र महिला संगठनहरू यो कथा भन्ने सिलसिलालाई निरन्तरता दिनुपर्छ भन्दै तन्नेरी युवाको अभियानमा सघाउन स्वस्फूर्त अघि सरेका छन् । अब कथा भन्ने परम्पराले दिगो रूप लेला भन्ने आशा युवाहरूमा छ । बौद्ध संस्कृति मान्ने नेवारी समाजमा गुँला पर्वको विशेष महत्त्व छ । योसँग जोडिएको कथा र यसको महत्त्व दर्साउन बालबालिकाका लागि ‘न्याकु बाजा र गुँला’ नामको पुस्तक पनि प्रकाशित गरेका छन् उनीहरूले । यसलाई गुर्जु फाउन्डेसनले प्रकाशनमा सहयोग गरेको छ । त्यस्तै, इन्द्र जात्राबारे सुनाइएका कथाहरूको सँगालो ‘यन्या’ पनि प्रकाशित छ । काठमाडौंको सम्पदा र बस्तीका लागि दिगो पर्यटन एवं हरित वृद्धिबारे परियोजना नै सुरु गरेर बाखं न्यने वाले महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकासँग सम्बन्धित कथाहरूको सँगालो पनि प्रकाशित गरेको छ । विपन्नको आवासका लागि काम गर्ने संस्था ‘लुमन्ती’ ले उनीहलाई सघाएको छ ।
यो सराहनीय कामका लागि युरोपेली संघ र यूएन ह्याबिटाटजस्ता अन्तर्राष्ट्रिय संस्था पनि हातेमालो गर्न आइपुगेका छन् । ‘युरोप अमेरिकातिर पनि स्थानीय कथाहरूलाई जगेर्ना गर्ने परम्परा रहेछ,’ कथा अभियानको सञ्चार पक्ष सम्हाल्दै आएका
शैलेश राजभण्डारी भन्छन्, ‘हामी छिट्टै नै उनीहरूलाई पनि काठमाडौंमा बोलाएर कथा भन्न लगाउने योजनामा छौं ।’
नेवार संस्कृतिमा प्रचलित कथा सुनाउने परम्पराको मौखिक रूपलाई पुनरुत्थान गर्नु यो अभियानको मुख्य उद्देश्य हो । यसका लागि यहाँ काम गरेर विज्ञता हासिल गरेका विदेशीलाई पनि बोलाएर कथा सुन्ने काम उनीहरूले गर्न थालेका छन् । जस्तो कि, ‘नोस्टाल्जिक सिरिज’ मा काष्ठमण्डपको नक्साबारे अध्ययन गरेका जर्मन आर्किटेक्ट वल्फग्याङ कोर्नलाई बोलाएर उनीहरूले बोल्न लगाएका थिए ।
‘हाम्रो संस्कृति र सम्पदाबारे जानकार अरू पनि विदेशीलाई हामी कथावाचनका लागि बोलाउँछौ,ं’ रिजा भन्छिन्, ‘जसरी हुन्छ, हाम्रो सभ्यतासँग जोडिएका किस्सा–कहानी आउने पुस्ताका लागि संकलन गरेर त्यसलाई डिजिटलाइज गर्नु हाम्रो काम हो ।’
इतिहास र पुराणका घटना कथा बनेर मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको परम्पराले चाडपर्व, रीतिरिवाज र खानपिनबारे अनेकन् चाखलाग्दा विवरण जीवित राख्दै आएको छ । मोबाइल पुस्तामा त्यो हराएर जाने डर भइरहेका बेला आफूहरूले सुरु गरेको अभियानप्रति पाकाहरूले गरेको भरोसाले बाखं न्यने वाका सदस्यहरू उत्साहित छन् ।
भूकम्पले मूर्त सम्पदाको जोखिमलाई उजागर गरेर उस्तै जोखिममा परेको अमूर्त सम्पदा बचाउने अभियानको जन्म गरायो । एक हिसाबले यो भूकम्पले लगाएको एउटा गुन हो नेवारी
सभ्यताका लागि ।
मौखिक परम्पराबाट अभिलेखित कथाहरूमा यो रूपान्तरणले यी अमूर्त सम्पदा हराउने छैनन् भन्ने आधार खडा गरेको छ ।