You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

पुरस्कारको गुगली फाल्दै सरकार

- विनोद पाण्डे

(काठमाडौं)
नेपाल र यूएई संयुक्त विजेता बनेका थिए सन् २०१२ को एसीसी ट्रफी क्रिकेटमा । शारजहाँ क्रिकेट रंगशालामा भएको रोमाञ्चक फाइनल ‘टाई’ मा टुंगिएपछि दुवै टोलीलाई विजेता घोषणा गरिएको थियो । १९९८ यता नेपालले निरन्तर एसियाका ‘इमर्जिङ’ राष्ट्रबीचको यो प्रतियोगिता खेल्दै आए पनि कहिल्यै जित्न सकेको थिएन ।
एसीसी ट्रफीमा संयुक्त विजेता हुनु तत्कालीन अवस्थामा नेपाली क्रिकेटले आत्मसात् गरेको सबैभन्दा ठूलो सफलता थियो । अझ नेपालले यूएईकै भूमिमा गएर खेलेकाले ट्रफी लिएर आएको थियो । राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय नेपालको यो सफलतामा चुप लागेर बस्नेवाला थिएनन् । तत्काल घोषणा गरिहाले, ‘एसीसी ट्रफी क्रिकेट प्रतियोगितामा संयुक्त विजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख पुरस्कार दिने ।’
यूएईको पहिचान दिने पानी जहाजको स्वरूपमा थियो ट्रफी । धेरैपछि एक पटक नेपाली टोलीका तत्कालीन सहायक व्यवस्थापकले त्यो ट्रफीका साथ आफ्नो फोटो सामाजिक सञ्जालमा राखेका थिए । त्यो पोस्टमा एसीसी ट्रफी विजेता नेपाली टोलीका तीव्र बलर अमृत भट्टराईको प्रतिक्रिया थियो, ‘यो डुबिसकेको कस्ती (पानीजहाज) देखाउनुको कुनै अस्तित्व छैन ।’ एसीसी ट्रफीमा संयुक्त विजेता बनिसकेपछिको घोषणा भएको पुरस्कार रकम नेपाली क्रिकेट खेलाडीले पाउँदै पाएनन् र अमृतले सामाजिक सञ्जालमा आफ्नो दुखेसो पोखिहाले ।
पुरस्कार वितरणलाई व्यवस्थित बनाउन गत वर्ष राष्ट्रिय खेलकुद विकास नियमावली जारी गरी कार्यविधि पनि बनाइएको छ, तर नेपाली क्रिकेट खेलाडीले घोषित पुरस्कार पाउन संघर्ष गर्नु परिरहेको छ । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले अविश्वसनीय सफलता हात पार्दा त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेर ताली पिट्ने भीडमा खेलकुदमन्त्री, खेलकुद परिषद्का सदस्य सचिव, दलका युवा नेता हुन्छन्, उनीहरूलाई खेलाडीहरूले घोषित पुरस्कार नपाएको गुनासो गरिरहन्छन्, तर सुनुवाइ कतैबाट भएको छैन ।
बुधबार यस्तै भयो । चीनमा चलिरहेको १९ औं एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालले मंगोलियाविरुद्ध अनुमान गरिएभन्दा पनि चामत्कारिक कीर्तिमान बनाएर विजय हात पार्‍यो । नेपालले विश्व कीर्तिमानको पहाड नै खडा गर्‍यो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई प्रत्यक्ष बधाई दिए । मन्त्री लिम्बूले खेलाडीलाई निर्धक्क भएर खेल्न भन्न खोजिरहेका थिए, तर उनको कुरा टुंगिन नपाउँदै कप्तान रोहित पौडेलले भने, ‘सर, हाम्रो पुरस्कार के भइरहेको छ ?’ उनले पुरस्कार समयमै पाए खेलाडीलाई राहत र हौसला हुने भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।
कार्यविधि नै भए पनि पुरस्कार घोषणाको अभ्यास अस्पष्ट छ । फेब्रुअरीमा नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध विश्वकप लिग–२ को घरेलु शृंखला ‘क्लिन स्विप’ गरेको थियो । विश्वकप छनोटको आधार रहेको लिग–२ मा पहिलो शृंखला जितेपछि सरकारले नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख रकम पुरस्कार दिने घोषणा गर्‍यो । अर्को महिना नेपालले दुबई गएर यूएई र पपुवा न्युगिनीविरुद्ध ४ मध्ये तीन खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्ने बलियो सम्भावना देखायो । शृंखला जिते पनि सरकारबाट यस पटक कुनै घोषणा आएन ।
यूएई र पपुवा न्युगिनीविरुद्ध फेरि घरेलु मैदानमा खेलिएको लिग–२ को शृंखलामा जित हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा सोझै पुग्यो । पुरस्कार घोषणामा यस पटक सरकार एक कदम अगाडि बढ्यो र जनही २ लाखको सट्टा ३ लाख दिने भन्यो । वैशाखमा एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपमा छनोट भएपछि ६ लाख पुरस्कार रकम घोषणा भयो ।

खेलकुद पुरस्कार कार्यविधिमा क्षेत्रीय प्रतियोगिता जित्दा ५ लाख पुरस्कार रकम पाउने व्यवस्था छ । सरकारले उपाधिको खुसीमा ६ लाख पुरस्कार रकम घोषणा गरेको थियो । तर, यी कुनै पनि पुरस्कार वितरण गरिएको छैन, त्यसैले क्रिकेट खेलाडीका नाममा घोषित जनही ११ लाख रकम बक्यौता भइसकेको छ ।
विश्वकप छनोट खेल्न जुनमा जिम्बावे जानेक्रममा नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइ गरेका थिए । त्यो बेला पनि खेलाडीले घोषित पुरस्कार रकम नपाएको भनी प्रधानमन्त्रीलाई अवगत गराएका थिए, प्रधानमन्त्री दाहालले नेपाली टोली जिम्बावे नपुग्दै खेलाडीको बैंक खातामा पैसा जम्मा हुने दाबी गरेका थिए । त्यो रकम अहिलेसम्म आएको छैन । त्यस्तै यसपालि एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि पनि खेलाडीले प्रधानमन्त्रीलाई त्यही विषय सम्झाएका थिए । प्रधानमन्त्रीले पुरानै शैलीमा भनिदिए, ‘तपाईंहरू चीन पुगेर पहिलो खेल खेलिनसक्दा पुरस्कार रकम खातामा आउँछ ।’ प्रधानमन्त्रीको वाचा दोहोरिएजस्तै व्यवहार पनि दोहोरियो, उता चीनमा नेपाली टिमले खेल जितिसक्यो, तर पैसा खातामा पुगेको छैन । त्यसैले खेलपछि बधाईका शब्द प्रकट गरिरहेका खेलकुदमन्त्री लिम्बूसमक्ष खेलाडीले हाङचउमै गुनासो पोखेका हुन् ।
‘घोषित पुरस्कार दिन यस्तो विधि ढिलो हुँदैनथ्यो, सरकारसँग पैसा नभएरै हो कि प्रक्रिया नपुगेको हो । केही बुझ्न सकिएको छैन,’ नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भन्छन् । ओलम्पिक खेलहरूबारे कार्यविधि प्रस्ट भए पनि क्रिकेट यसभित्र नपरेकाले झमेला भएको हुन सक्ने उनको बुझाइ छ । ‘क्रिकेट अरू खेलभन्दा फरक छ । सागमा क्रिकेट हुन नहुने निश्चित छैन । एसियाडमा बल्ल खेल्न लागेका हौं,’ उनी भन्छन्, ‘तर, द्विपक्षीय शृंखला जितेर आएपछि घोषणा भएका पुरस्कार पनि आएको छैन ।’ अघिल्लो महिना खेलाडी जीवनबाट संन्यास घोषणा गरेका उनले भने, ‘उपाधि जितेर पुरस्कार दिनु राम्रो हो, तर उपाधि जित्नुअघि चासो दिएर त्यो खेललाई अझ अगाडि बढाउने घोषणा गरे अझ राम्रो हुन्थ्यो ।’
नेपाली क्रिकेटले पछिल्लो ८ महिनामा पाएको सफलतामा प्रदेश सरकारले पनि आफ्नो क्षेत्रका खेलाडी तथा ‘अफिसियल’ लाई पुरस्कार घोषणा गरेकामा वाग्मतीबाहेक अधिकांशले पुरस्कार रकम दिइसकेका छन् । कानुनी प्रक्रिया झन्झटिलो भएकाले त्यो मिलाउन नसकेको स्वीकार गर्दै खेलकुदमन्त्री लिम्बूले नेपाली क्रिकेट टोली चीनबाट फर्किंदा चेक हातमा परिसक्ने दाबी गरे ।
खेलकुदमन्त्रीले चेक दिइहाल्ने दाबी गरिरहँदा नेपालको यू–१९ क्रिकेट टोली मार्चमा यूएईमा भएको एसिया छनोट जित्दै विश्वकपमा पुगेपछिको रकम अझै पाएका छैनन् । जबकि कार्यविधिमा लेखिएअनुरूप उमेर समूहको टोलीले क्षेत्रीय प्रतियोगिता जितेमा तीन लाख रकम पुरस्कार घोषणा भए पनि नेपाली यू–१९ टोलीले अझै त्यो रकम पाएका छैनन् । नेपाली यू–१९ टोली दुई सातापछि एसिया छनोट खेल्न जाँदै छ ।
खेलकुद पुरस्कार कार्यविधिअनुसार ओलम्पिकमा स्वर्ण वा विश्वकप फुटबल जिते नेपाली खेलाडीले सामूहिकतर्फ १ करोड ३० लाख र व्यक्तिगततर्फ ५२ लाख पाउनेछन् । युथ ओलम्पिकमा स्वर्ण जित्दा सामूहिकतर्फ ६५ लाख र व्यक्तिगततर्फ ५२ लाख, एसियाली खेलकुदमा स्वर्ण जित्दा सामूहिकमा ३२ लाख ५० हजार र व्यक्तिगतमा १३ लाख, दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा सामूहिकमा ११ लाख ७० हजार र व्यक्तिगतमा ७ लाख ८० हजार पाउनेछन् ।
क्रिकेटको हकमा विश्वकपमा पहिलोदेखि तेस्रो भएमा व्यक्तिगत क्रमशः ३२ लाख ५० हजार, २६ लाख, १९ लाख ५० हजार, महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएमा १९ लाख ५० हजार, डिभिजन २ बाट डिभिजन १ लागि भएको प्रतियोगिता जितेमा ६ लाखलगायत पुरस्कार रकम दिने कार्यविधि छ । ‘नेपाल विश्वकप लिग २ मा तेस्रो भएको र त्यसबारे कार्यविधि स्पष्ट नहुँदा पुरस्कार रकम दिन ढिलाइ भएको हो, त्यसैले कार्यविधि संशोधनको मस्यौदा तयार छ,’ खेलकुदमन्त्री लिम्बूको भनाइ छ । नेपाली यू–१९ टोली घोषित पुरस्कार रकम नपाउँदा अन्योलमै अर्को प्रतियोगिता खेल्न जान लागिरहेको छ । पुरस्कार नपाउँदा आर्थिक बोझका साथै प्रदर्शनमा असर पर्ने भन्दै कप्तान रोहितले मन्त्री लिम्बूको ध्यानाकर्षण गराएका थिए । एसियाडमा नेपालीको प्रदर्शनमा चमक नआउनुका कारण यस्तै घोषित पुरस्कार रकमको असर हुन सक्नेतर्फ सजग हुनुपर्ने खेल विज्ञहरू बताउँछन् ।
१९९९ मा घरेलु मैदानमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली खेल क्षेत्रकै बहुचर्चित पुरस्कार घोषणा भएको थियो । जतिखेर नेपाली खेलाडीले स्वर्ण पदक जितेमा ‘सरप्राइज’ पुरस्कार पाउने बताउँदै तत्कालीन खेलकुदमन्त्री शरतसिंह भण्डारीले त्यो पुरस्कार खेलाडीको घरबारसँग सम्बन्धित रहेको जनाएका थिए । त्यो पुरस्कार नपाएपछि ३१ स्वर्ण जितेका खेलाडी आफैं ‘सरप्राइज’ भए । नेपालले २०१४ को विश्वकप क्रिकेट खेलेको थियो, राम्रो खेल्ने खेलाडीलाई टोयोटाले कार दिने घोषणा थियो । राम्रो खेलेका पारस खड्कालाई कार दिने घोषणा गरिए पनि अझै पाएका छैनन् ।

मुख्य पृष्ठ

पाकिस्तानमा बम विस्फोट, ५३ को मृत्यु

- कान्तिपुर संवाददाता

 

इस्लामावाद (एजेन्सी)– पाकिस्तानको बलुचिस्तानमा शुक्रबार भएको बम विस्फोटमा प्रहरी अधिकारीसहित ५३ जनाको मृत्यु भएको छ । पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार बलुचिस्तानको मस्तुङ जिल्लामा विस्फोट भएको हो । घटनामा डीएसपी नवाज गसगुरीको समेत मृत्यु भएको छ, करिब ५० जना घाइते भएका छन् । प्रहरी अधिकारीले आत्मघाती बम विस्फोट भएको आशंका गरेका छन् ।
जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रसिद शाहीका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका लागि स्थानीय जम्मा भएको समयमा विस्फोट भएको हो । मस्जिद नजिक स्थानीय बासिन्दा इद उल मिलादको उत्सव मनाउने र जुलुस निकाल्ने तयारीमा थिए । डीआईजी मुनिर अहमदका अनुसार आक्रमणकारीले प्रहरीको सवारीनजिक विस्फोट गरेका थिए । सहिद नबाब गौस बख्स रायसानी मेमोरियल अस्पतालका प्रमुख कार्यकारी डा. सइद मिरवानीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार २० भन्दा बढी घाइतेलाई थप उपचारका लागि क्वेटा रेफर गरिएको छ ।
हालसम्म घटनाको कसैले जिम्मेवारी लिएका छैनन् । पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले घटनाको निन्दा गरेका छन् भने बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले घटनाको जाँच गर्न आदेश दिएका छन् । ‘घटनामा संलग्न जोसुकै भए पनि दयाका पात्र हुने छैनन् । शान्तिपूर्ण जुलुसलाई निसाना बनाउनेविरुद्ध कडा कदम चालिनेछ,’ उनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै, शुक्रबार नै पाकिस्तानको खैबर पख्तुनख्वाको हंगुस्थित दोआबा प्रहरी स्टेसनमा दुईवटा विस्फोट हुँदा एक प्रहरी अधिकारीसहित कम्तीमा ५ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।
पहिलो विस्फोट प्रहरी स्टेसनको प्रवेशद्वारमा भएको जिल्ला प्रहरी अधिकारी निसार अहमदले बताए । त्यसपछि घटनास्थलमा स्थानीय जम्मा भएका थिए ।

लगत्तै प्रहरी स्टेसनको परिसरस्थित मस्जिदमा अर्को विस्फोट भएको थियो ।
पाकिस्तानमा आगामी जनवरीको अन्तिम साता चुनाव हुने घोषणा गरिएको छ । त्यसअघि विस्फोट, सुरक्षाकर्मीमाथि आक्रमण र झडपका घटना बढिरहेका छन् । यस महिनाको सुरुवातमै मस्तुङमा भएको विस्फोटमा जमायत उलेमा–ए–इस्लाम पार्टीका नेता हाफिज हम्दुल्लाहलगायत ११ जना घाइते भएका थिए । गत मेमा उक्त जिल्लामै पोलियो खोप कार्यक्रममा सहभागी टिममाथि अज्ञात समूहले आक्रमण गरेको थियो, जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो । यस्तै, गत वर्षको अक्टोबरमा पनि उक्त जिल्लाको पहाडी क्षेत्र काबुमा विस्फोट हुँदा ३ जनाको मृत्यु र ६ जना घाइते भएका थिए । सोही जिल्लामा सन् २०१८ जुलाईमा आत्मघाती बम विस्फोटमा बलुचिस्तानी अवामी पार्टी (बीएपी) का नेता नबाबजादा सिराज रायसानीसहित १ सय २८ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।

मुख्य पृष्ठ

बुढेसकालको साथी स्मार्टफोन

- मेनुका ढुंगाना

(अछाम)
कामको खोजीमा अधिकांश जिल्लावासी भारत छिर्ने गर्छन् । मंगलसेन नगरपालिका–५ की चन्द्रा विकका दुई छोरी पनि भारत नै गएका छन् । ६८ वर्षको उमेरमा यतिबेला उनी घरमा एक्लै जस्तै छिन् । कुरा गर्ने साथी पनि नभएपछि उनले दुई महिनाअघि मात्रै एउटा स्मार्टफोन किनिन्, सामाजिक सुरक्षा भत्ताबापत पाएको रकम जुगाड गरेर । त्यसअघि उनीसँग कुरा गर्न मात्र मिल्ने सामान्य मोबाइल थियो ।
‘कुरा मात्र गर्न मिल्ने सानो मोबाइल त पाँच वर्षअघिदेखि नै चलाउँथे । त्यसले मात्रै धीत मरेन,’ चन्द्राले भनिन्, ‘छोराछोरी, बुहारी, नातिनातिना सबै आफ्नै काममा व्यस्त हुन्छन् । आफू एक्लै हुँदा कहाँ जाने, कसो गर्ने हुन थाल्यो । अनि यो मोबाइल किने‌‌‌‌‌‌ं ।’ अचेल उनी भारतमा भएका दुवै छोरीसँग भिडियो कल गर्छिन् र न्यास्रो मेट्छिन् । मजदुरीका लागि छोराछोरी विदेशिन बाध्य भएपछि घर रुँघेर बस्ने वृद्धवृद्धालाई यतिबेला आफ्नै गाउँघर बिरानो बन्दै गएको छ । ‘जति बुढेसकाल लाग्यो, त्यति नै एक्लो महसुस हुने रहेछ,’ चन्द्रा दुखेसो पोख्दै भन्छिन्, ‘एक्लो भएका बेला मोबाइल हेर्ने, छोराछोरीलाई भिडियो कल गर्ने गरेर समय काट्छु ।’
अचेल मोबाइल नै उनका लागि बुढेसकालको भरपर्दो साथी बनेको छ । नातिनातिनासँग मोबाइल चलाउन सिकेकी उनी फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा जोडिसकेकी छन् । ‘पहिले–पहिले फोनभित्रै मान्छे बसेर बोल्छन् होला जस्तो ठान्थें, अचेल आफैं यसरी मोबाइलमा
मान्छे हेरी–हेरी बोल्न, चलाउन जान्ने भएँ,’ चन्द्रा एकहदसम्म खुसी पनि छिन् ।

किनभने पहिले भारतमा रहेका श्रीमान्लाई फोन गर्नका लागि टाढाको मंगलसेन बजार पुगेर घण्टौंसम्म पालो पर्खनुपर्ने चन्द्राले हिजोआज घरमै बसेर आफ्नासँग मोबाइलमा घन्टौंसम्म भिडियो कल गर्न पाएकी छन् ।
पीसीओ धाउँदै भारतमा रहेका श्रीमान् र आफन्तलाई फोन गर्न धेरै समय लाइनमा बसेको अनुभव मंगलसेन–५ की ७० वर्षीया सेतु भाटसँग पनि छ । पत्राचार गरेर महिनौं खबर कुर्नुपर्ने अवस्थाबाट पीसीओमा एकाध घण्टा लाइन बसेरै फोन गर्न पाउँदाको त्यो समय पनि कम्ता रोमाञ्चक भने थिएन, सेतुका लागि । अहिले त झन् आफ्नै फोनबाट चाहेको बेला तत्क्षण कुरा गर्न पाउँदा सेतुलाई परिवेशसँगै आफू पनि बदलिएको थाहा छ । ‘बम्बई गएका श्रीमान्ले गाउँ आउने मान्छे भेट्दा नासो र चिठी पठाउँथे । ती चिठी उच्चारिदिने (पढिदिने) मान्छे पनि गाउँमा भेट्न मुस्किल हुन्थ्यो,’ विगत सम्झँदै उनी भन्छिन्, ‘चिठीपत्र बिस्तारै कम हँॅदै थिए । मंगलसेनमा पीसीओबाट कुरा गर्ने सुविधा आयो । त्यो बेला १ मिनेट बोलेको १५ देखि २० रुपैयाँसम्म तिरेकी छु । ती दिन सम्झँदा अहिले त जमाना कहाँबाट कहाँ पुगिसक्यो ।’ मोबाइल समाउन थालेको ६ वर्षसम्म पनि सेतुलाई यसका धेरै फङ्सन चलाउन आउँथेन रे । पहिले पहिले गाउँमा कसैका आफन्तले विदेशबाट फोन गर्दा बोलाउन मान्छे पठाउने वा चर्को स्वर गरेरै बोलाइने गरिन्थ्यो । ‘अहिले त पल्लो कोठामा भएका छोराछोरीलाई बोलाउन पनि फोन गर्नेसम्मको अवस्था आयो,’ सेतु हाँस्छिन् ।
बुढेसकालमा आएर स्मार्टफोन चलाउन पाउनुलाई मंगलसेन–५ की चन्द्रा बजगाईं भाग्य ठान्छिन् । उनका एक छोरा सेनामा जागिरे छन् । अर्का छोरा काठमाडौंमा बस्छन् । दुई छोरीले पनि विवाह गरेर घरजम गरिसकेका छन् । ढल्किँदो उमेरमा आइपुग्दा उनी एक्लै भएकी छन्, काम पनि खासै गर्न सक्दिनन् । कमजोरीले गर्दा न त धेरै टाढासम्म हिँड्न नै सक्छिन् । गाउँघर डुलेर गफिन सक्ने ताकत पनि छैन । यस्तो बेलामा उनलाई एक्लो महसुस हुनु स्वाभाविक नै हो । कोरोना संक्रमणका बेला कान्छो छोरा घरमा आउँदा उनले पनि स्मार्टफोनको चाह राखिन् । छोराले आमाको रहर पुर्‍याइदिए पनि । ‘केही काम पनि गर्न सकिँदैन । हिँडडुल गर्न पनि सक्दिनँ, गाह्रो भयो । मैले रहर गरेपछि छोराले मोबाइल किनिदियो,’ बजगाईंले सुनाइन्, ‘अहिले त यही मोबाइल मात्रै हेर्ने काम भएको छ । मलाई चाहिने जति चलाउन सिकाइमागेकी छु, दिन काट्न सजिलो भाको छ ।’
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूएन वुमनको सहयोगमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगले तीन वर्षअघि सुदूरपश्चिमका १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको अवस्थासम्बन्धी गरेको एक सर्वेक्षणमा ६६.१ प्रतिशतले मोबाइल फोन प्रयोग गर्दै आएका छन् । सोही उमेर समूहका ८.८ प्रतिशत महिलाले भने इन्टरनेटसमेत चलाउन सक्छन् ।

Page 2
म्यागेजिन

पुरानालाई बिर्सिएको नयाँ सहर

- पर्वत पोर्तेल

(झापा)
बिर्तामोड पहाडी मूलका मान्छेको प्रभाव रहेको पूर्वी तराईको एक चलायमान सहर हो । इतिहासविद्हरूका अनुसार बिर्तामोडको बिर्ता कुलीनहरूको भए पनि औलो उन्मूलन हुनुअघि यस भेगमा राजवंशी, धिमाल, मुस्लिम र सन्थालहरू मात्रै थिए । यद्यपि, आमरूपमा बिर्तामोडको इतिहास सम्झनेले बस्नेत, गिरी, पोखरेलजस्ता केही परिवारको पौरख मात्र सम्झने गरेका छन् । बिर्तामोडको इतिहाससँग जोडिएका ‘कालोकुत्ता मियाँ’ नेपालको औपचारिक इतिहासको कुनै पानामा भेटिँदैनन् । आखिर किन त ?
मियाहरू बिर्सिइनुको कारण २०१९ सालबाटै खोज्न थाले केही संकेत पाइन्छ । यसै साल पूर्व–पश्चिम राजमार्गको रेखाङ्कन भयो । सुरुमा पूर्व–पश्चिम राजमार्गलाई नकलबन्दा–शनिश्चरे हुँदै पश्चिमतिर जोड्ने योजना थियो तत्कालीन सरकारको । सर्भे पनि भइसकेको थियो । तर, पछि किन हो त्यो रुट अनुपयुक्त ठहर भयो । अन्ततः नकलबन्दाभन्दा २ किलोमिटर दक्षिण काँकडभिट्टातिर योजना सारियो ।
राजमार्गका लागि बाटो खन्न थालेपछि मात्रै हालको बिर्तामोडमा टहराहरू बन्न थालेका हुन् । राजमार्ग निर्माणपछि ०२७ साल आसपाससम्म पनि बिर्तामोड सुनसान नै रहेको यहाँका पुराना बासिन्दा एवं राष्ट्रिय सभा सांसद गोपालकुमार बस्नेतले बताए । ‘बरु नकलबन्दा, भद्रपुर, बिर्ताबजार, शनिश्चरेलगायत गुल्जार थिए,’ उनले भने, ‘बिर्तामोड त भर्खरै सहर बन्दै गरेको पो हो त ।’ बस्नेतका अनुसार खासमा बिर्तामोड अप्रत्याशित रूपमा बनेको सहर हो । ‘यो कसैको इच्छा या चाहनाले बनेको हैन,’ उनले थपे, ‘नचाहँदा नचाहँदै सहर जन्मियो ।’
००७ सालअघि झापामा औलाको महामारी व्यापक थियो । औलो र बिफरको उन्मूलनपछि ०२०–०३० भित्र पहाडबाट तराई झर्नेहरूको लर्को लाग्यो । खासगरी ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङलगायत जिल्लाका मान्छे बसाइँ सरेर यहाँ आउन थाले । औलोअघि भने पहाडीहरू तराई (मधेश) झर्नै डराउँथे । त्यसबेला ‘ऊ मधेश’ भनेर इङ्गित गर्दा औंला नै कुहिएर झर्छ भन्ने बुझाइ थियो । ‘त्यसबेला मधेशमा औलोको प्रकोप भयावह नै थियो,’ बस्नेतले सुनाए, ‘०३०/३५ सालपछि फाट्टफुट्ट गाडी गुड्न थाले । व्यापार व्यवसाय पनि बढ्दै गयो ।’
खासमा पूर्व–पश्चिम राजमार्ग बनेको निकै समयपछिसम्म पनि बिर्तामोड बिर्ताबजार प्रवेश गर्ने एउटा ‘मोड’ का रूपमा मात्रै थियो । त्यो मोड सुनसान रहन्थ्यो । १२ वर्षे माओवादी जनयुद्धको समयमा बिस्तारै बिर्तामोड गुलजार बन्न थाल्यो । पहाडी जिल्लाका द्वन्द्वपीडितहरू सुरक्षाका लागि धमाधम तराई झर्न थाले । जमिन किने, यतै बस्न थाले । एक दशकयता बिर्तामोड झापाको सबैभन्दा चलायमान सहर बन्यो । ०५८ को जनगणनाअनुसार तत्कालीन अनारमनी गाविसको जनसंख्या २७ हजार ७ सय ६२ मात्रै थियो । पछिल्लो समय पूर्वकै व्यापारिक केन्द्रको पहिचान बनाएको बिर्तामोडमा सहरीकरण यसरी तीव्रतर गतिमा बढ्यो कि झन्डै तीन दशकमा यो सानो सहरको जनसंख्या डेढ लाख नाघेको छ ।
०७१ वैशाख २५ मा साविक अनारमनी गाविस र चारपाने गाविसलाई समावेश गरी नगरपालिका बन्यो । नेपालको संविधानको भाग ५ मा भएको व्यवस्थाबमोजिम ०७३ फागुन २७ मा बिर्तामोड नगरपालिकामा गरामनी गाविसलाई गाभेर दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा गरियो । तीव्रतर जनसंख्याको वृद्धिको दरले बिर्तामोडको आकर्षण कति छ भन्ने दर्शाउँछ । यहाँ बर्सेनि जनसंख्या थपिएको थपियै छ । चारै दिशामा पर्याप्त मात्रामा खुला जमिन रहेको र त्यही जमिनलाई घडेरीका रूपमा बिक्री वितरण गरेसँगै सहरीकरण तीव्र भएको नगरका उपप्रमुख नगेन्द्र संग्रौलाले जनाए । सहरीकरणसँगै ठूल्ठूला पक्की घर र बिल्डिङ ठडिने क्रम बढ्यो । यहाँ वार्षिक ३ सय पक्की घर थपिने गरेको बिर्तामोड नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
सहरमा पाइने प्रायः सुविधा बिर्तामोडमा पुगेको छ । अस्पताल, स्कुल–कलेज, मिडिया हाउस, बैंक तथा वित्तीय संस्था, ओभरसिज, होटल, यातायात, पर्यटन व्यवसाय, साना तथा मझौला उद्योगको स्थानीय केन्द्र नै बनेको छ । पहाडबाट ल्याइने अलैंची, अम्लिसो, अदुवाजस्ता कृषि उपजको मुख्य व्यापारिक केन्द्र पनि बिर्तामोड नै हो । नाम चलेका चेन सुपरमार्केटको स्थापनाले बिर्तामोडको आकर्षण थप बढाएको छ । ‘मूलतः राजमार्गको निर्माणपछि नै बिर्तामोड बिस्तारै सहर बन्ने प्रक्रियामा अघि बढेको छ,’ अध्येता तीर्थ सिग्देलले भने, ‘माओवादी जनयुद्धजस्ता कतिपय राजनीतिक घटनाक्रमले पनि बिर्तामोडलाई सहर बनाउन मद्दत पुगेको छ ।’
इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने अलैंची, अम्रिसो, अदुवालगायत कृषि उत्पादनको कारोबार स्थल बिर्तामोड बनेको छ । पूर्वका पहाडी जिल्लाको संगमथलो बिर्तामोड भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङले सुनाए । बितेको डेढ दशकमा लगानीकर्ताहरूले शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा गरेको ठूलो परिमाणको लगानीले सुविधा मात्रै उपलब्ध गराएन, सँगसँगै रोजगारीको अवसर पनि सिर्जना गरेको छ । कुनै बेला व्यापार क्षेत्रमा मात्रै २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको यो सहर कोभिडको महामारीपछिभने खस्किएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी बताउँछन् । उनका अनुसार विगतमा बढ्दो आकर्षण र व्यावसायिक कारोबारका कारण पूर्वकै ठूलो व्यापारिक केन्द्रका रूपमा स्थापित हुँदै गएको बिर्तामोडको समग्र व्यापारमा पछिल्लो समय गिरावट आएको छ । ‘कृषि उत्पादन, खाद्यान्न, सवारी साधनलगायतमै मासिक ५ अर्बभन्दा बढीको
कारोबार हुन्थ्यो,’ उनले भने, ‘अहिले आर्थिक मन्दीले प्रभाव पारेको छ ।’
०२५/२६ सालताका झापामा धान, चामल, जुट, तोरीलगायतको कृषिजन्य उत्पादन व्यापक थियो । खासगरी ती मिल र साना तथा मझौला उद्योगहरू सीमावर्ती क्षेत्रमा केन्द्रित थिए । ‘नकलबन्दा र भद्रपुर नाकाको प्रयोग गरेर गोरुगाडामा राखेर धान, चामल भारत निकासी गरिन्थ्यो,’ झापा विद्रोहबारे हालै मात्र पुस्तक प्रकाशित गरेका निरोज कट्टेलले भने, ‘त्यतिबेला बिर्तामोड कुनै पनि मानेमा व्यापार व्यवसायसँग जोडिने नाम थिएन ।’ उनका अनुसार बिर्तामोडको अहिलेको व्यापारिक विस्तार रोचक अध्ययनको विषय हो । ‘सहरीकरणसँगैसँगै खेतीयोग्य जमिन घट्दै गएको बिर्तामोड मूलतः घरघडेरी बेचबिखन, होटल र ओभरसिज व्यवसायले धानेको छ ।’

आदिवासीकै उठीबास
राणाकालीन समयका मालअड्डा प्रमुख भूपालमानसिंह कार्कीले ‘मेरो जीवनयात्रा’ नामक आत्मकथामा चन्द्रशमशेरले सन्तानका नाममा बिर्ता दिएको जमिन भएकाले अनारमनी कालान्तरमा बिर्ता हुँदै बिर्तामोड हुन पुगेको उल्लेख छ । बिर्तामोडवासी अधिवक्ता लीला उदासीका अनुसार बिर्तामोडमा पहिला सन्थाल, राजवंशी, धिमाल, चौधरी र केही मुस्लिम परिवारको मात्रै बसोबास थियो । औलो उन्मूलनपछि पूर्वी पहाडबाट पहाडीहरू तराई झर्ने क्रमसँगै प्रसाईं, पोखरेल, बस्नेत र गिरी परिवार जोडिन पुगे । ‘औलो उन्मूलनअघि यहाँ पहाडीहरू आएर बस्ने अवस्था नै थिएन,’ अधिवक्ता उदासीले भने, ‘अनेक खाले प्राकृतिक प्रकोप सहेर आदिवासी बसेका थिए ।’
राष्ट्रिय सभा सांसद बस्नेतले ६० को दशकमा प्रकाशित गरेको ‘झापाको सेरोफेरो’ पुस्तकमा कालोकुत्ता मियाँ, धर्मे, छोटु र मधुरा सन्थालजस्ता आदिवासीलाई तत्कालीन सत्ताले जालझेल गरी जमिनबाट बेदखल गरेको उल्लेख गरेका छन् । हालको चर्चित गिरीबन्धु चिया बगान र बिर्तामोड आसपासका सयौं बिघा जमिनबाट धेरै आदिवासीलाई षड्यन्त्रपूर्वक ढंगले विस्थापित गरिएको बस्नेतले बताए ।
अनारमनी गाउँ पञ्चायत ०१९ सालमै गठन भएको थियो । त्यसको प्रथम अध्यक्ष थिए, आदिवासी सतानुसिंह राजवंशी । त्यो समयका जमिनदार सतानुसिंहका परिवारको अहिले बेहाल छ । ०२१ सालमा भूमिसुधार लागू भएपछि धेरै आदिवासीले जमिन गुमाउनुपर्‍यो । कतिपय भूमिसुधार लागू हुनुअघि बेदखल भइसकेका थिए । धिमाल समुदायका अध्येता पात्र धिमालका अनुसार बिर्तामोडमा बस्ती बसाउने धेरै आदिवासीमध्ये धिमालहरू पनि मुख्य हुन् । बिर्तामोडमा मुख्यतः धिमालका पाँच गाउँ थिए । अहिले ती सबै हराए । ‘तीव्र सहरीकरणसँगै धिमालहरू यहाँबाट बेदखल हुँदै गए,’ अध्येता धिमालले भने, ‘अहिले यहाँ धिमालहरू भेटिनै मुस्किल छ ।’

म्यागेजिन

होहल्ला गरेर जिमदार भगाइए

- कान्तिपुर संवाददाता

गोपालकुमार बस्नेत,
राष्ट्रिय सभा सदस्य

२००० सालतिर झापामा सबैभन्दा ठूला र धनीमानी मानिस थिए– कालोकुत्ता मियाँ । अहिलेको अनारमनीको बुट्टाबारी, खोपबारीको सारा जमिन उनको आफ्नो नम्बरी जग्गा थियो । एउटै प्लट, झापाभर सबैभन्दा राम्रो मिलेको, सिँचाइ सुविधा भएको साढे पाँच सय बिघा जग्गा उनैको थियो । डेढ सय घरभन्दा बढी उनका अधियारहरू थिए । उनका बारेमा मैले ‘झापाको सेरोफेरो’ पुस्तकमा विस्तारमा उल्लेख गरेको छु ।
मालपोत तिर्न उनी पैसा बोरामा लिएर गाडीमा जान्थे र पाथीले पैसा भरेर मालपोत बुझाउँथे । तर, उनको यस्तो स्थिति सधैं रहेन । झापाका नयाँ हाकिमहरूका आँखामा उनी धेरै दिन रहन सकेनन् । कसैले कालोकुत्ता मियाँ डाँकासँग मिलेको र आफैं डकैतीमा संलग्न भएको भनी झोसपोल गरे । मुद्दा चलाइयो र उनको सारा जग्गाजमिन हडप गरियो । त्यसबेला माल अड्डाका सुब्बा भैरवप्रसाद आचार्यको सबैभन्दा बढी बोलवाला थियो । बिचरा कालोकुत्ता मियाँ जेल परे । शारीरिक पीडा र मानसिक ग्लानिले एक–डेढ वर्षभित्रमै उनी जेलमै बिते । उनको जग्गाजमिन मालपोत नतिरेको आधारमा भैरवप्रसाद आचार्यले लिए । पछि सो जग्गा शमशेर गिरीलाई र अरूहरूलाई
बिक्री गरिदिए ।
अहिलेको गिरीबन्धु टी इस्टेट भएको सारा जमिन मथुरा सतार र छोटु सतारका नाममा थियो । यो सबै मौजाको जिमदार थिए धर्मे भन्ने सतार । मथुरा सतारको पनि सयौं बिघा जमिन थियो । कालोकुत्ता मियाँलाई झोसपोल गरी मुद्दा लगाई जेल हालेपछि मथुरा सतारलाई पनि पोलिएको छ भनी होहल्ला चलाइयो । यसरी मथुरा सतारलाई पनि भाग्न बाध्य गराइयो । मथुरा सतार, छोटु सतार, धर्मे सतारलाई डाँका मुद्दा लागेको छ भनी होहल्ला चलेपछि कालोकुत्ताको गति हुने डर देखाएर सुराकीमार्फत सुटुक्क भाग्न लगाइयो । बिचरा सतारहरू कतै न्याय पाउने ठाउँ पनि नदेखेपछि गाउँ नै
छोडेर हिँडे । सबै सतारले डाँडा काटेपछि बाघेडाँगीबाट शमशेर गिरी, टेकबहादुर गिरी झिकाइ सो जमिन भैरवप्रसादले गिरीहरूलाई बिक्री गरेका थिए ।

Page 3
समाचार

कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने गठबन्धनको निर्णय

- देवनारायण साह

(मोरङ)
कोशी प्रदेशमा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वमा बनेको अल्पमतको सरकारलाई विश्वासको मत नदिने गठबन्धन दलले निर्णय गरेको छ । कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार बन्ने भएको छ ।
गठबन्धन दल कांग्रेसको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको अल्पमतको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । ‘बहुमत सांसदको समर्थन रहेको गठबन्धन दल सरकारबाहिर छ,’ कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले भने, ‘अल्पमतमा रहेको एमालेका नेता कार्कीले परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेकाले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’ कार्कीले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठबन्धन दलको नेतृत्वमा गठित सरकारले
प्रदेशमा राजनीतिक स्थायित्व प्रदान गर्ने उनको दाबी छ ।
गठबन्धन दल माओवादीका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका नेता पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धन दलले कुनै पनि हालतमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने बताए । अहिलेको अल्पमतको सरकारले विश्वासको मत नपाएपछि उपधारा (५) अनुसार बन्ने गठबन्धन दलको सरकारले राजनीतिक स्थिरता कायम गरेर प्रदेशमा विकास र समृद्धिको अभियान अघि बढाउने उनीहरूले बताए ।
गठबन्धन दलको निर्णय आएसँगै राप्रपा पनि नरम देखिएको छ । ‘उपधारा (५) अनुसार गठबन्धन दलले सरकार गठन गर्नुअगाडि राप्रपाले छलफल गरेर सहमति गर्छ,’ राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले भने, ‘गठबन्धन दलको अवस्था हेरेर सहमति गरेर प्रदेशमा राजनीतिक स्थायित्व प्रदान गर्छौं किनकि अहिले मध्यावधि चुनाव कसैले चाहेको छैन । त्यसैले उपधारा (५) अनुसार सरकार बनाउनेलाई आवश्यकताको आधारमा समर्थन गर्छौं ।’ उनले गठबन्धन दलसँग छलफल भएपछि राजनीतिक सहमतिका साथै सरकारमा कुनै हैसियतमा सहभागी हुने विषय टुंगिने बताए ।
अध्यक्ष राजेन्द्रकुमार लिङ्देनलगायतका नेताहरूको निर्वाचन क्षेत्र आउँदो निर्वाचनमा सुरक्षित गर्ने, केन्द्रीय सरकारमा हिस्सा लिने विषयमा छलफल भइरहेको राप्रपाका एक नेताले बताए । ‘प्रदेश सरकारमा मुख्यमन्त्रीमा दाबी गर्ने, सभामुख र दुई जना मन्त्री लिने विभिन्न विकल्पमा छलफल चलिरहेको छ,’ उनले भने । कांग्रेस पनि कोशीमा स्थिर सरकार निर्माणका लागि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा सदस्यमा पठाएर लिङ्देनको निर्वाचन क्षेत्र सुरक्षित गर्ने दाउमा देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई व्यवस्थापनको तयारी गरेपछि कांग्रेस नेता शेखर कोइरालाले सभापतिलाई न्यायसंगत रूपमा पार्टी सञ्चालन गर्न दबाब बढाइरहेका छन् । निर्वाचनमा पराजित भएका व्यक्तिलाई राष्ट्रिय सभामा प्रतिनिधित्व नगराउने पार्टीको नीतिविपरीत सिटौलालाई व्यवस्थापन गर्न खोजेकाले कोइरालाले सभापति देउवाको विरोध गर्न थालेको कांग्रेसका एक नेताको भनाइ छ ।
सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० भित्र उक्त धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० सांसदको मात्रै मुख्यमन्त्री कार्कीलाई समर्थन रहेको र प्रदेशसभाको निर्वाचनदेखि सहकार्य गर्दै आएका ६ जना सांसद भएको राप्रपाले एमाले नेतृत्वको सरकारलाई समर्थन नभएको भन्दै साथ छोडिसकेको छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ गरी ४७ सांसद छन् ।
गठबन्धन दलले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेसँगै असोज २० पछि संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उक्त धाराको उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसके वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने संवैधानिक व्यवस्था छ ।
पार्टीको प्रदेश अधिवेशन उद्घाटनका लागि शुक्रबार विराटनगर आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा पत्रकारको प्रश्नमा कोशीमा स्थिरता आवश्यक रहेको बताए । ‘प्रादेशिक हिसाबमा पनि अहिले मध्यावधिमा जानु हुँदैन, त्यो अवस्था छैन,’ उनले भने, ‘प्रदेशलाई मध्यावधितर्फ धकेल्ने कुरा बुद्धिमानीपूर्ण हुँदैन र धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’

समाचार

‘सांसद कोष’ खर्च गर्न लबिइङ

- अर्जुन शाह

(धनगढी)
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र सत्ता साझेदार माओवादीका प्रदेशसभा सदस्य शिवसिंह ओलीबीच शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा नोकझोक चल्यो । सांसद ओलीले सरकारका गतिविधिको आलोचना गर्दै भने, ‘यता बसौं भने संसद् छैन, निर्वाचन क्षेत्रमा गाउँ जाऊँ भने काम केही गर्न सकेको छैन । अब त बोल्ने ठाउँ पनि पाउन छाडेकाले यस्तै सन्दर्भ नमिल्ने कार्यक्रममा पनि बोल्नैपर्ने भयो ।’
प्रत्युत्तरमा मुख्यमन्त्री शाहले आक्रामक भएर जवाफ फर्काए ।
‘संसद्भित्रको जवाफ संसद्भित्र खोज्नुहोला । म हरेक कुराको जवाफ दिने सामर्थ्य राख्छु,’ उनले भने, ‘भ्रष्टाचार गरेको देखिए तत्काल राजीनामा दिन्छु ।’ कांग्रेसबाट मुख्यमन्त्री रहेका शाह र सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादीका सांसद यसरी सार्वजनिक कार्यक्रममै आमनेसामने हुनुको पृष्ठभूमि छ । प्रदेश सांसदहरूको मुख्य चासो र चिन्ता आफ्नो सिफारिसमा योजना र बजेट हुनुपर्नेमा छ । सांसदहरू सर्वोच्च अदालतले कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको ‘प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम’ को वैकल्पिक बाटोबाट कार्यान्वयन हुनुपर्ने लबिइङमा छन् । उनीहरू बजेट पारित गर्ने बेला सरकारले गरेको प्रतिबद्धता बिर्सिएको आरोप लगाइरहेका छन् ।
सरकारले सांसद कोषका नामले चिनिने उक्त कार्यक्रममा दुई करोड थप गरेर पाँच करोड उपलब्ध गराउने प्रतिबद्धता गरेपछि चालु वर्ष २०८०/८१ को बजेट पारित गर्न सत्तारुढ दलका सांसद तयार भएका थिए । सर्वोच्चको आदेशपछि सांसदहरू सरकारले कुनै उपाय निकालेर विनियोजित र थप प्रतिबद्धता भएको गरी पाँच करोडका योजना दिनुपर्ने लबिइङमा छन् । ‘सरकारले सर्वोच्चको आदेश देखाएर सांसदका कुनै पनि कुरा सुन्दै नसुन्नेजस्तो देखियो,’ सांसद ओलीले भने, ‘सरकारले वैकल्पिक उपायका लागि छलफल गर्नुपर्ने हो ।’ सरकारले त्यसतर्फ अग्रसरता नदेखाएको भन्दै सत्तारुढ दलकै सांसदहरू रुष्ट देखिएका हुन् । ‘चुनावका बेला अनेक आश्वासन दिएर भोट माग्यौं, अहिले कुनै योजना छैन,’ कांग्रेसका एक सांसदले भने, ‘हामीलाई त जनता–कार्यकर्ताका बीचमा जाने बाटो नै बन्द भएको छ ।’
माओवादीका एक सांसदले प्रदेश सरकारले दशैंतिहारअघि नै यसबारे वैकल्पिक निकास गरिसक्ने आवश्वासन दिएको बताए । उनका अनुसार सरकारले चाँडो निकास देओस् भन्नेमा सबै सांसद एकमत छन् । तर, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट भने सर्वोच्चले रोक लगाएको विषयमा छलफलको कुनै अर्थ नहुने बताउँछन् । ‘सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका केही योजनाका लागि कोष पाउनुपर्छ भन्नु अन्यथा होइन । चुनावका बेला हामी सबैले आश्वासन बाँडेकै हुन्छौं,’ उनले भने, ‘तर अदालतले रोकेको विषयमा छलफल गर्नुको औचित्य छैन ।’ मन्त्री भट्टले कुनै छलफल नभएको दाबी गरे पनि सरकारले उक्त कोष कार्यान्वयनको वैकल्पिक उपायबारे छलफल गरिरहेको छ ।
गठबन्धन दलबीच खटपट उत्कर्षमा पुगेको देखिए पनि प्रतिपक्षी एमाले चुपचापजस्तै छ । एमाले सांसद धर्मराज पाठकले मुख्यमन्त्री र सभामुखलाई सरकार र संसद् जिम्मेवार बन्नुपर्ने विषयमा पटकपटक ध्यानाकर्षण गराइरहेको दाबी गरे । ‘विधिमार्फत नभई सिधै योजना र बजेट वितरण गर्नेमा हाम्रो सुरुदेखि नै विरोध थियो । संसद्मा हामी जनताका समस्या बोलिरहेकै छौं । सरकारलाई पनि बेलाबेला सुझाव दिइरहेकै छौं,’ उनले भने । माओवादी सांसद ओली असमझदारी बढेको स्विकार्छन् । सरकारले यसै साता गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र मुख्य न्यायाधिवक्ता नियुक्तिमा पनि माओवादीले असन्तुष्टि व्यक्त गरेको छ ।
माओवादी सांसद मानबहादुर धामीले सरकार सञ्चालनमा कांग्रेसले एकलौटी गरिरहेको आरोप लगाए । त्यसको बदला माओवादीले कांग्रेस सांसदको संयोजकत्वमा गठित प्रदेश सभा नियमावली संशोधन समितिमा असहमति जनाएको छ । प्रतिपक्षी दलका सांसदको असहमति रहेकै बेला माओवादीको समेत विमति भएपछि उक्त समिति पटकपटक म्याद थप गरेर निष्कर्षमा पुग्न नसकी निष्क्रिय भइसकेको छ । सरकार गठनका बेला मुख्यमन्त्री शाहले हाल कायम रहेका चार वटा संसदीय समिति संख्या बढाएर ६ वटा पुर्‍याउने र नागरिक उन्मुक्ति पार्टीलाई दुईवटा समितिको नेतृत्व दिने समझदारी गरेका थिए ।
सरकारले संसदीय समिति संख्या बढाउने तयारी गर्दा सभामुख भीमबहादुर भण्डारीले असोज ७ गते हाल कायम रहेका चार वटा प्रदेशसभाका विषयगत समितिको सभापति चयनका लागि असोज १२ (शुक्रबार) गते निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरे । तर, मुख्यमन्त्री शाहको निर्देशनमा २४ घण्टा नबित्दै निर्वाचनको कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित गरियो । यसबाट सरकार र सभामुखबीच असमझदारी बढेको छ । सत्तारुढ दलभित्रै बढिरहेको खटपटले प्रदेशसभा निष्क्रियझैं भइरहेको छ । कानुन निर्माण र जनप्रतिनिधिहरूले सर्वसाधारणको आवाज व्यक्त गर्ने थलोको रूपमा रहेको प्रदेश सभा एक महिनादेखि ठप्प छ ।

समाचार

सरकार र राहत शिक्षकबीच सहमति

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सरकार र आन्दोलनरत राहत शिक्षकबीच शुक्रबार ५ बुँदे सहमति भएको छ । सहमतिपछि १० दिनदेखि आन्दोलनरत शिक्षकहरू नियमित पठनपाठनमा फर्कने भएका छन् ।
संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामाथि असन्तुष्टि जनाउँदै आन्दोलित शिक्षकका माग विधेयकमा संशोधन र सहजीकरणका लागि शिक्षा मन्त्रालयले प्रतिबद्धता जनाएको हो । शिक्षामन्त्री अशोक राईले शिक्षक महासंघ र सरकारबीच असोज ५ मा भएको सम्झौताको पूरक सम्झौताका रूपमा राहत शिक्षकसँग सहमति भएको बताए । सहमति पालना गर्न सरकारले संसद्मा लबिइङ गर्ने उनले जनाए । असोज ३ देखि महासंघको अगुवाइमा देशभरका शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन चर्काएका थिए । सरकार र महासंघबीच सहमति भए पनि राहत शिक्षकले भने आन्दोलनलाई निरन्तरता दिइरहेका थिए ।
शतप्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति भएको राहत शिक्षक महासंघका अध्यक्ष खेमराज अधिकारीले जनाए । सहमतिमा भने मागलाई संसद्मा छलफलका लागि प्रवेश गराउने उल्लेख छ । देशभर ४४ हजार राहत शिक्षक छन् । विधेयकले राहत कोटालाई स्वतः दरबन्दीमा परिणत गर्ने व्यवस्था गरेको छ । तीमध्ये ५० प्रतिशतलाई आन्तरिक प्रक्रियाबाट स्थायी गरिने विधेयकमा उल्लेख छ । महासंघसँग सरकारले ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन विधेयकमा संशोधन गराउन प्रयास गर्ने सहमति गरेको थियो । प्रतिस्पर्धा गर्दा उमेरहद लागू नहुने र परीक्षामा अनुत्तीर्ण भए आर्थिक सुविधासहित बिदा गरिने सहमति पनि भएको छ । स्थायी हुँदा अस्थायी अवधि गणना गरिने भएको छ । विधेयकमा उमेरहद लागू नहुने र आर्थिक सुविधा पाउने उल्लेख छ । तर आर्थिक सुविधाको मापदण्डबारे त्यसमा स्पष्ट व्यवस्था गरिएको छैन ।
राहत शिक्षक, प्रारम्भिक बालविकास सहयोगी, विद्यालय कर्मचारी, साविक उच्च माध्यमिकतर्फका शिक्षकको स्थायित्व, सेवासुविधा, वृद्धि, बालविकासलाई विद्यालय शिक्षामा समावेश गर्ने विषयलाई संसदीय प्रक्रियाको छलफलमा प्रवेश गराउने सहमतिमा उल्लेख छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा केन्द्रित विरोध कार्यक्रम शुक्रबारबाटै अन्त्य गर्ने भनिएको छ । विद्यालयमा अध्ययन अध्यापनलाई नियमन गरी पठनपाठन सञ्चालन गर्न शिक्षकहरूले सहमति जनाएका छन् । सहमतिमा शिक्षामन्त्री राई, राहत शिक्षक अध्यक्ष अधिकारी, महासंघ अध्यक्ष कमला तुलाधारलगायत प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
प्रारम्भिक बालविकासका शिक्षकलाई कायम दरबन्दीअनुसार आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिने उल्लेख छ । प्रारम्भिक बालबिकासमा कार्यरतलाई शिक्षकको दर्जा दिई प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकसरहको तलब तोकिनुपर्ने माग शिक्षकहरूले राख्दै आएका थिए । विद्यालयको आन्तरिक स्रोतबाट तलब प्राप्त गर्ने कार्यालय सहायक, पुस्तकालयकर्मी, ल्याब सहायक, कार्यालय सहयोगी, सुरक्षा सहयोगी, मालीलगायत कर्मचारीलाई पनि दरबन्दी कायम गर्न माग राखिएको थियो । शिक्षक, कर्मचारी र ईसीडी शिक्षकका विषयमा शिक्षा मन्त्रालयले समन्वय र विधेयक संशोधन गर्न सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।
महासंघसँग गृहमन्त्री नाराणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता भएको थियो । त्यतिबेला शिक्षकको मर्यादा कायम गर्ने, विधेयक संशोधन गर्न सहजीकरण गर्ने, शिक्षकलाई विभागीय कारबाहीको प्रस्तावित व्यवस्था पुनरावलोकन गरिने, शिक्षक सरुवा व्यवस्थापन समितिको सहमति गर्ने, विद्यालय व्यवस्थापन समिति अभिभावक मात्र रहने, कार्यसम्पादन मूल्यांकन प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिबाट गर्ने, सेवा प्रवेशको उमेर ४० वर्ष तोक्ने, दुर्गम महंगी भत्ता दिने, आवधिक बढुवाको व्यवस्था गर्ने, ईसीडी शिक्षक कर्मचारीको न्यूनतम पारिश्रमिक तोक्ने र सुरक्षा कोषमा आबद्ध गर्ने सहमति भएको थियो ।
सहमति कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । शिक्षकको मर्यादाक्रम कायम गर्न गृह र सेवासुविधाका लागि अर्थलाई पत्राचार गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूले विधेयकको व्यवस्थाअनुसार स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका थिए । उनीहरूको कतिपय माग सेवासुविधा र शिक्षक हकहितसँग पनि सम्बन्धित छ । संविधानले नै माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा रहने व्यवस्था गरेकाले शिक्षकको माग र सरकारले गरेको सहमति संविधानविपरीत रहेको शिक्षाविद्हरूले टिप्पणी गर्दै आएका छन् । शतप्रतिशत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने मागप्रति पनि आलोचना भएको छ ।

Page 4
समाचार

सीमाका नागरिकको राय जुटाउँदै सशस्त्र प्रहरी

- कान्तिपुर संवाददाता

(काठमाडौं)
अन्तर्राष्ट्रिय सीमा क्षेत्रका नागरिकले भोग्नुपरेका समस्या, त्यसको समाधान र सार्वजनिक सेवा प्रवाहमा दिन सकिने प्रोत्साहनबारे सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमाका जनप्रतिनिधिसँग राय–सुझाव संकलन गर्ने भएको छ ।
पहिलो चरणमा भारत र चीनतर्फ अन्तर्राष्ट्रिय सीमा जोडिएका स्थानीय तहका वडाध्यक्ष र क्रमशः पालिका प्रमुख, प्रदेश र संघीय सांसदसँग सशस्त्र प्रहरीले राय लिने भएको हो । गतवर्ष मात्रै सशस्त्रले सीमा क्षेत्रमा वडाध्यक्ष संयोजक र बोर्डर आउट पोस्ट (बीओपी) कमान्डरलाई समन्वय अधिकृत तोकेर स्थानीयसमेतको उपस्थितिमा ‘सीमा सरोकार समिति’ बनाएको थियो । त्यसको प्रभावकारिता र सीमा सरोकार समितिलाई थप सुदृढ बनाउने विषयमा पनि वडाध्यक्षहरूबाट थप राय मागिने सशस्त्रले जनाएको छ ।
राय संकलन सम्भव भएसम्म दसैंअगावै वाहिनी मुख्यालयहरूमा विशेष कार्यक्रमको आयोजना गरिने सशस्त्र प्रहरीले जनाएको छ । सातवटै प्रदेशका वाहिनी मुख्यालय वा पायक पार्ने स्थानमा कार्यक्रम गर्न लागिएको सशस्त्रले जनाएको छ । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लम्बाइ सिमाना छ । कोशी प्रदेशको ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म २७ जिल्ला भारतसँग जोडिन्छ । १ सय २३ वटा स्थानीय तहका ३ सय ९१ वडा सिमानामा पर्छन् । ती वडाभित्र करिब २० लाख मानिस छन् । चीनतर्फ करिब १ हजार ४ सय १४ किमि लम्बाइमा अन्तर्राष्ट्रिय सिमाना रहेकामा ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका १५ जिल्ला चीनसँग जोडिएका छन् । ती जिल्लाका २७ स्थानीय तहअन्तर्गत ६० वडाको भूभाग सिमानामा पर्छ, जहाँ करिब ६० हजार मानिस बस्छन् ।
‘सीमा क्षेत्रका नागरिक नै असली सीमा रक्षक हुन्, त्यसका लागि उनीहरूका भावना र माग के–कस्ता छन्, यिनै विषयमा राय सुझाव लिन त्यस क्षेत्रका जनप्रतिनिधिसँग विशेष गोष्ठीजस्तै कार्यक्रम राख्न लागिएको हो,’ सशस्त्रका एक अधिकारीले भने, ‘पहिलो चरणमा सीमा क्षेत्रका वडाध्यक्षबाट राय लिन्छौं । त्यसपछि क्रमशः पालिका प्रमुख, प्रदेश सांसद र संघीय सांसदबाट पनि धारणा समेट्छौं ।’ सशस्त्रले एपीएफ अस्पतालको क्षमता र चापअनुसार निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिकता निर्धारण गरेर एपीएफ स्कुलमा सिमानाका विद्यार्थीलाई कोटा छुट्याउने, सशस्त्र प्रहरी भर्नामै पनि सिमानाबाट कोटा निर्धारण गर्ने, नियमित स्वास्थ्य शिविर सञ्चालनलगायत विषय अघि बढाउन सकिने गरी प्रारम्भिक खाका बनाएको छ । त्यसबारे वडाध्यक्षहरूको पनि राय समेटेर सहुलियतका प्याकेज अघि बढाउन सकिने एपीएफको प्रस्ताव छ ।
सीमा क्षेत्रबाटै प्रतिनिधित्व गर्ने थुप्रै सांसद, मन्त्री र प्रधानमन्त्री बनिसकेका छन् । त्यस क्षेत्रबाट उच्च तहका सार्वजनिक ओहदामा पुग्नेको संख्या पनि उत्तिकै छ । तर सीमावासीका लागि राज्यले दिनुपर्ने सहुलियत र सुविधा तथा त्यस क्षेत्रको माग सम्बोधन गर्न ठोस प्रयास भएको छैन । गत स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनताका पनि प्रतिस्पर्धी कोही उम्मेदवारले सीमाका नागरिकका समस्याबारे ठोस एजेन्डा बनाएका थिएनन् ।
०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले भारत र चीनतर्फ सीमा क्षेत्रका नागरिकलाई विशेष प्याकेज ल्याउने योजनासहित प्रतिवेदन पेस गर्न कार्यादेश दिए पनि कार्यान्वयन नै भएन । भारततर्फ सहसचिव यज्ञबहादुर हमाल र चीनतर्फ कालीप्रसाद पोखरेल नेतृत्वमा सुरक्षा निकाय, गृह, नापीलगायतबाट प्रतिनिधित्व रहने गरी मन्त्रिपरिषद्ले दुईवटा संयन्त्र खटाएको थियो । हमाल नेतृत्वको समितिले सीमामा राज्यका तर्फबाट विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने राय दिएको थियो । भौगोलिक विकटताका कारण देखाएर पोखरेल नेतृत्वको संयन्त्रले काम नै गरेन । हाल दुवै सहसचिव अवकाशमा गइसकेका छन् । हमाल नेतृत्वको समितिको प्रतिवेदन पनि बेवारिस जस्तै छ । अहिले सशस्त्र प्रहरीले आफ्नै अग्रसरतामा सीमा क्षेत्रको समस्या र नागरिकका धारणा स्थानीय जनप्रतिनिधिमार्फत संकलन गर्न लागेको हो ।
खासगरी दक्षिणतर्फको सिमानामा भारतीय पक्षबाट निर्मित अनधिकृत संरचनाका कारण वर्षायाममा निम्तिने बाढी र डुबान, एसएसबीबाट विभिन्न बहानामा भोग्नुपरेका दुर्व्यवहार र यातना, सीमास्तम्भ गायब पार्ने, सार्ने जस्ता विषय मूल समस्या छन् । त्यतिमात्र होइन, भारतबाट नेपालतर्फका ९ सयभन्दा बढी स्थान र नेपालबाट भारततर्फ करिब ६ सय स्थानमा दुवै देशका बासिन्दाले ‘क्रस बोर्डर’ खेतीपाती गर्छन् । आउजाउ र आपसी विवादका कारण पनि दुवै देशका नागरिक तहमै खटपट हुनेदेखि एसएसबीले नेपालतर्फ पसेर ज्यादती गर्नेसम्मका गतिविधि बर्सेनि दोहोरिने गरेका छन् । भारतले नेपालसँग सीमा जोडिएका करिब साढे ५ सय स्थानमा एसएसबीको तैनाथी गराएको छ । उसको तुलनामा सशस्त्रको उपस्थिति पातलो छ । सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड फोर्स’ का रूपमा तैनाथ गराउँदै आएको छ ।
हालसम्म भारततर्फ २ सय ४३ र चीनतर्फ ९ ठाउँमा बीओपी स्थापना गरिएका छन् । दुवैतर्फ केही वर्षभित्रै बीओपी संख्या ५ सय पुर्‍याउने भनिए पनि साधन/स्रोत र जनशक्ति अभाव देखाएर यसअघि अघि सारिएको कार्ययोजना अलपत्र परेको छ । जसका कारण कुनै अपराध घटेमा तत्काल उद्धार र सम्भावित जोखिम नियन्त्रण गर्न समय लाग्ने अवस्था छ । भारततर्फ सस्तोमा सामान पाउने भएकाले यस क्षेत्रका नागरिक दैनिक गुजाराका लागि सीमा वारपार गर्ने क्रममा सशस्त्र प्रहरीबाटै दुर्व्यवहारमा पर्ने गरेका छन् । सरकारले समेत पछिल्लो पटक सीमाबाट हुने भन्सार छली, चोरी/निकासी रोक्न भन्दै सामान खरिदको सीमा १ सयमा सीमित गरेको छ । पारि सुविधा र ठीक वारि महँगीको मारमा परेका उनीहरूका लागि सरकारले भने कुनै सहुलियत प्याकेज दिन सकेको छैन ।

समाचार

चिकित्सक आन्दोलनले सर्वसाधारणको सेवा प्रभावित

- सुदीप कैनी

(काठमाडौं)
देशभरका चिकित्सकलगायत स्वास्थ्यकर्मीले चार दिनदेखि गरेको आन्दोलनले सर्वसाधारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । देशभरका अधिकांश अस्पतालको सेवा अवरुद्ध बनेको छ । आकस्मिक सेवा मात्रै सञ्चालन गर्ने डाक्टरहरूले घोषणा गरेका छन् ।
वीर अस्पतालमा उपचारको प्रतीक्षामा रहेका धादिङका टंकलाल अर्यालले तोकिएको दिनमा डाक्टर भेट्न नपाएको गुनासो गरे । ‘शरीर सुनिएर वीरमा उपचार गराएर डिस्चार्ज भएको थिएँ, डाक्टरले १० गते फेरि चेकजाँच गर्न बोलाएका थिए,’ उनले भने, ‘आन्दोलन छ नआउनु भनेपछि छोराको डेरामा बसिरहेको छु ।’ पाठेघरको उपचार गराउन त्रिवि शिक्षण अस्पताल भर्ना भएकी काभ्रेकी विमला ढकालले पनि उपचार नपाएको गुनासो गरिन् । ‘डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन् तर अहिले हाम्रो आन्दोलन छ, त्यसपछि मात्रै हुन्छ भन्छन् ।’ मंगलबारदेखि सुरक्षित कार्यस्थलको मागसहित आवासीय चिकित्सकहरूको नेतृत्वमा स्वास्थ्यकर्मी आन्दोलनरत छन् । उनीहरूले ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ गठन गरी मागहरू अघि सारेका छन् । पछिल्लो समय देशका मणिपाल, लमजुङ, माडी–चितवन, हेटौंडालगायत विभिन्न अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारका घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधिनसहित) संशोधन गर्न पनि माग राखिएको छ । ‘ऐनमा व्यवस्था भएको दफा १५ को कसुर र सजाय सम्बन्धमा भएको व्यवस्थामा संशोधन गरी दफा ३ बमोजिमको कुनै कार्य गरेमा न्यूनतम सजाय ३ वर्षभन्दा बढी कैद र तीन लाख जरिवाना गरिनेछ/कायम गर्नुपर्छ,’ समितिको विज्ञप्तिमा भनिएको छ । ऐनमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण हुन लागे तत्काल राज्यले सुरक्षा प्रदान गर्नेछ र नियमानुसार सार्वजनिक मुद्दा चलाई कारबाही प्रक्रिया अगाडि बढाउने दफा उल्लेख हुनुपर्ने माग राखिएको छ । शुक्रबार लिखित मागहरू अघि सार्दै आन्दोलनलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालका डा. सुमन आचार्यले जनाए ।
समितिले अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मीहरूमा सुरक्षाको प्रत्याभूति गराउन अस्पतालभित्र स्वास्थ्य सुरक्षा प्रहरी बलको व्यवस्था गर्नुपर्ने, प्रत्येक स्वास्थ्य संस्थामा सुरक्षित कार्यस्थल कार्यान्वयन गर्न अस्पताल प्रमुख नजिकैको प्रहरी कार्यालय प्रमुख, उपभोक्ताको प्रतिनिधि र कानुनी अधिकारीसहितको समन्वय समिति गठन गर्ने र सो समितिले नियमित कार्य गर्न सुनिश्चितता गर्नुपर्ने माग पनि राखेका छन् । ‘स्वास्थ्यकर्मीहरूका लामो कार्य समय, अत्यधिक कार्यबोझलगायत आम नागरिकसम्म स्वास्थ्य सेवासम्बन्धी चेतनाको अभावलगायत विषयहरूले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पटक/पटक कुटिइरहने घटनाहरू आइरहेकाले त्यसको कारक तत्त्वहरू पहिचान गरी निराकरण गर्न एक उच्चस्तरीय समिति गठन गर्नुपर्छ,’ मागपत्रमा उल्लेख छ ।
शुक्रबार संघर्ष समिति गठन गरिएको छ भने नेपाल चिकित्सक संघले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । चिकित्सकको आन्दोलन चर्कंदै गएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले उनीहरूको माग वार्ताको माध्यमबाट सम्बोधन गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको छ । बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले समितिका तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए ।
यसअघि गृह मन्त्रालयले ऐनअनुसार मुद्दा चलाएर कारबाही अघि बढाउन मातहतका निकायलाई निर्देशन दिए पनि चिकित्सकहरू कारबाही हुनेमा ढुक्क छैनन् । बिहीबार गृहमन्त्री नाराणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आन्दोलनरत पक्षसँग छलफल गरे पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन । त्यस्तै प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न, दोषीलाई कारबाही गर्न आवश्यक परे नयाँ कानुनी व्यवस्थासमेत गर्न सरकारसँग माग गरेका छन् ।

Page 5
अर्थ वाणिज्य

सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

- यज्ञ बञ्जाडे

(काठमाडौं)
सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २३ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत भदौसम्मको संक्षिप्त प्रगति विवरणले सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको देखाएको हो । गत असारसम्म यस्तो ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ थियो । सरकारी तथ्यांक हेर्दा गएको एक वर्षमा सार्वजनिक ऋण करिब ३ खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा यस्तो ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो ।
सरकारले तिर्न बाँकी कुल ऋणमध्ये
बाह्यभन्दा आन्तरिक ऋण करिब पौने २९ अर्ब रुपैयाँले बढी छ । गत भदौसम्म ११ खर्ब ४० अर्ब ५३ करोड आन्तरिक ऋण र ११ खर्ब ६९ अर्ब ३३ करोड बाह्य ऋण तिर्न बाँकी छ । गत भदौसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ७७ हजार रुपैयाँ बराबर ऋण छ । राष्ट्रिय तथ्यांक कार्यालयले परिमार्जन गरेर सार्वजनिक गरेको कुल जनसंख्या ३ करोड ९ लाख १८ हजार ७ सय २० मा गत भदौसम्म तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्यांक निकालिएको हो । भदौसम्मको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब ४२.९१ प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी
५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण
गरेको थियो ।
सरकारले हरेक वर्ष घाटा बजेट ल्याउने प्रवृत्ति बढ्दै गएकाले मुलुकलाई सार्वजनिक ऋणको भार बढ्दै गएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा स्रोत अपुग हुने ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ ऋणमार्फत पूर्ति गर्ने लक्ष्य लिएको छ । यसअनुसार वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाइने सरकारी लक्ष्य छ । त्यसैले चालु आर्थिक वर्षमा करिब साढे ४ खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिने निश्चित छ । यद्यपि उक्त अवधिमा पुरानो ऋणको साँवा–ब्याज भुक्तानी कति हुन्छ, त्यसले कुल सार्वजनिक ऋणको अवस्था देखाउँछ ।
सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गत वर्ष सरकारले गरेको खर्च पनि पुँजीगत खर्चकै हाराहारी छ । गत वर्षमा ऋणको साँवा–ब्याज भुक्तानीमा सरकारले २ खर्ब २२ अर्ब ७४ करोड २१ लाख खर्च गरेको छ । यसमध्ये आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी १ खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा–ब्याज भुक्तानीमा ४३ अर्ब १ करोड ६८ लाख बराबर खर्च भएको छ । यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा (साउन र भदौ) सरकारले आन्तरिक ऋणको साँवा र ब्याज गरी ४१ अर्ब ६१ करोड र बाह्य ऋणको ८ अर्ब १६ करोड भुक्तानी गरेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये ११ खर्ब ४१ अर्ब ७८ करोड (२० प्रतिशत) चालु खर्च, ३ खर्ब २ अर्ब ७ करोड (१७.२५ प्रतिशत) पुँजीगत र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत) छुट्याइएको छ । वित्तीय व्यवस्थापनका लागि विनियोजन गरेको बजेट पुँजीगत खर्चभन्दा बढी हो । यसले पछिल्ला वर्षमा राज्यलाई ऋणको भार बढ्दै गएकाले सरकारले विकास निर्माणमा भन्दा ऋणको साँवा भुक्तानीलाई बढी प्राथमिकता दिएको पुष्टि हुन्छ । गत वैशाखदेखि आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको हो ।
पछिल्ला वर्षमा आन्तरिक ऋणको हिस्सा बढ्दै गएको छ भने बाह्य ऋणको अंश क्रमशः घट्दै गएको गत आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा पनि उल्लेख छ । आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्म सार्वजनिक ऋण दायित्वमा आन्तरिक ऋणको अनुपात ४८.६ र बाह्य ऋणको अनुपात ५१.४ प्रतिशत छ । सरकारले वाणिज्य बैंकहरूलाई निःशुल्क (शून्य ब्याजदरमा) दिएको निक्षेप राष्ट्र बैंकले अहिले महँगो ब्याजदरमा बजारबाट उठाउन थालेको छ ।
स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत वाणिज्य बैंकहरूले निक्षेपमा गणना गर्न पाउने व्यवस्थापछि यस्तो अवस्था आएको हो । गत भदौ २५ देखि वाणिज्य बैंकहरूले स्थानीय तहको खातामा रहेको ६० प्रतिशत रकम गणना गर्ने सुविधा पाएका थिए । यही व्यवस्थाका कारण भदौ २५ मा नै वाणिज्य बैंकहरूमा ६३ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । त्यसयता स्थानीय तहको खातामा रकम थपिएसँगै बैंकहरूमा पनि निक्षेप बढेको छ । यसरी वित्तीय प्रणालीमा निक्षेप थपिएपछि बैंकहरूबीचको सापटी (अन्तरबैंक दर) ६ प्रतिशतबाट घटेर २ प्रतिशत हाराहारीमा झरेको थियो ।
पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले वृद्धि भएको छ । ०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । ०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब पुग्यो । सार्वजनिक ऋण ०७५/७६ मा १० खर्ब ४८ अर्ब, ०७६/७७ मा १४ खर्ब ३३ अर्ब, ०७७/७८ मा १७ खर्ब ३७ अर्ब, ०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँबराबर पुगेको छ । हरेक वर्ष ऋण बढेसँगै तिर्नुपर्ने साँवा र ब्याज पनि बढ्दै गएको सरकारी तथ्यांक छ ।

अर्थ वाणिज्य

सामाजिक सञ्जाल व्यवस्थापन गर्न निर्देशिका तयार

- सजना बराल

(काठमाडौं)
फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्सजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा प्रयोगकर्ताले गर्न हुने र नहुने क्रियाकलापको लामो सूचीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ तयार पारेको छ । गर्न नहुने करिब दुई दर्जन क्रियाकलापका विवरण समेटिएको निर्देशिका हाल राय–सुझावका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ ।
‘हामीले निर्देशिकामा सरोकारवाला सबैको जिम्मेवारी किटान गरेका छौं,’ निर्देशिका निर्माणसम्बन्धी समितिका संयोजकसमेत रहेका सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदी भन्छन्, ‘गर्न हुने/नहुने १९/२० वटा गतिविधिको सूची तयार पारेका छौं । गर्न नहुने कामको हकमा को–को जिम्मेवार हुनुपर्ने भन्ने पनि खुलाइएको छ । त्यसमा हामी प्रयोगकर्ता, प्लाटफर्म सञ्जाल, प्लाटफर्मका क्षेत्रीय प्रतिनिधिहरू सबै पर्छन् ।’ गाली–गलौज, मानहानि, अरूलाई निरुत्साहित गर्ने, अपराध गर्न उक्साउने, फेक आईडीबाट म्यासेज पठाउने, साइबर बुलिइङ गर्नेजस्ता क्रियाकलापलाई गर्न नहुनेअन्तर्गत राखिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा पनि यस्तै विषयहरू धेरै उजुरी आउने गरेको सहसचिव सुवेदीको बुझाइ छ । निर्देशिका बनाउने क्रममा आफूहरूले विज्ञहरूसँग पर्याप्त छलफल र अन्तर्क्रिया गरेको उनले बताए ।
निर्देशिकामा सामाजिक सञ्जाल प्लाटफर्मलाई ठूला र साना गरी दुई थरीमा वर्गीकरण गरिएको छ । कुल १ लाखभन्दा धेरै प्रयोगकर्ता भएकालाई ठूला प्लाटफर्म र त्योभन्दा थोरै प्रयोगकर्ता भएकालाई साना गरी विभाजन गरिएको छ । ठूला प्लाटफर्मले निर्देशिका लागू हुनासाथ नेपालका लागि ‘प्वाइन्ट अफ
कन्ट्याक्ट’ नियुक्त गर्नुपर्ने, गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, कम्युनिटी गाइडलाइनको पालना गर्नुपर्ने, चौबिसै घण्टा सम्पर्क निकाय उपलब्ध हुनुपर्ने जस्ता व्यवस्था राखिएको छ । ‘यस विषयमा हामीले दक्षिण एसिया हेर्ने मेटाका प्रतिनिधिसँग छलफल गरेका थियौं, उहाँले सिंगापुरकै स्टाफ कटौती गर्दै छौं, अन्य देशमा प्वाइन्ट अफ कन्ट्याक्ट राख्न सम्भव छैन भन्नुभयो,’ प्रवक्ता सुवेदी भन्छन्, ‘तर हामीले तपाईंहरूको पहिचान चाहियो, अनलाइन नै भए पनि पहिचान दिनुपर्ने भयो, तपाईंहरूको एक खालको सूची नेपाल सरकारको निकायमा रहन्छ, तपाईंहरूलाई चिन्नुपर्‍यो भनेका थियौं ।’ निर्देशिका लागू हुनासाथ प्लाटफर्म कम्पनीहरूलाई सूचीकरणका लागि इमेल पठाउने उनले बताए ।
ग्लोबल कम्पनीहरू नेपालमा आएर दर्ता होलान् भन्नेमा मन्त्रालय निश्चित छैन । यद्यपि, ती प्लाटफर्म सूचीकृत मात्रै भइदिए पहिचान खुल्ने सरकारको अपेक्षा छ । सूचीकरण गर्दा उनीहरूले अनलाइनबाटै लिगल स्टाब्लिसमेन्टको कागज अपलोड गर्न मिल्ने प्रावधान निर्देशिकामा समावेश छ । ‘बाल दुर्व्यवहार, महिलामाथि हिंसाजस्ता गतिविधिमा यसको पहिलो जिम्मेवारी सम्बन्धित प्लाटफर्म हुने गरी निर्देशिकमा जिम्मेवारी उल्लेख गरेका छौं,’ प्रवक्ता सुवेदीले भने, ‘निर्देशकाले दण्ड सजाय, अदालतका कुरा गर्दैन । हामीले के मात्रै भनेका हौं भने प्लाटफर्महरू चिनिनु चाहिँ पर्छ । चिनिन पनि नखोज्ने, ठूलो संख्यामा प्रयोगकर्ता पनि भएका, तीमार्फत पटक–पटक आपराधिक क्रियाकलाप हुने अवस्थामा यो निर्देशिका ल्याइएको हो ।’
निर्देशिका अनुसार मन्त्रालय मातहत रहने गरी सामाजिक सञ्जाल व्यवस्थापन इकाइ बनाइनेछ भने सूचना तथा प्रसारण विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल, विज्ञापन बोर्डजस्ता निकायमा सम्पर्क व्यक्ति नियुक्त गर्ने व्यवस्था छ । मन्त्रालयमा रहने इकाइमा सामाजिक सञ्जालका विज्ञ राख्ने र इकाइले विभिन्न निकायका सम्पर्क व्यक्तिहरूलाई डाकेर नियमित समीक्षा बैठक गर्ने प्रवक्ता सुवेदीले जानकारी दिए । यसका लागि थप कर्मचारी नल्याई भइरहेकैबाट चलाउने उनले बताए ।
यसअघि ०७७ सालमै सामाजिक सञ्जाल नियमन गर्न सरकारले निर्देशिका ल्याउने तयारी गरेको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक् स्वतन्त्रतालाई असर नपर्ने गरी निर्देशिका ल्याउने बताए पनि त्यो सार्वजनिक भएन । सामाजिक सञ्जालमा पोस्ट गरिएका विषयवस्तु लाइक, कमेन्ट वा सेयर गर्दा विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने प्रावधानसहितको सो निर्देशिकालाई लिएर त्यो बेला नै विरोध भएको थियो । नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल सूचीकृत भएर सरकारको नजरमा आउनुपर्ने निर्देशिकामा भनिएको छ । सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका विषयमा भने विज्ञापन बोर्डको ऐनअनुसार हुने प्रवक्ता सुवेदीको भनाइ छ । ‘बोर्डले हालै सार्वजनिक गरेको ऐनमा विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापनको नियमनबारे उल्लेख छ,’ उनले भने, ‘ऐनबाटै स्थापित भइसकेको विषय भएकाले हाम्रो निर्देशिकाले त्यसलाई समेटिरहनु पर्दैन । हामीले विज्ञापन बोर्डलाई नै विश्वास गर्ने हो ।’ निर्देशिकामा शिक्षा, सचेतना र क्षमता विकासका कुरा समेटिएका छन् । सामाजिक सञ्जालको प्रयोग गरेर गर्न नहुने कामका विषयमा एउटा सिंगै अनुसूची छुट्याइएको छ ।

त्यसमा १९ वटा गतिविधिहरू उल्लेख गरिएको प्रवक्ता सुवेदीले बताए ।
‘यी गतिविधिलाई पछि बन्ने सामाजिक सञ्जाल व्यवस्थापसम्बन्धी
ऐनमार्फत क्रिमिनलाइज गर्छौं तर अहिलेको निर्देशिकामा दण्ड सजायका विषय छैनन्,’ उनले थपे, ‘गर्न नहुने कार्य के–के हुन् त भनेर सचेत मात्र गराउन खोजिएको हो । प्रयोगकर्ता, प्लाटफर्म क–कसले के–के गर्न नहुने प्रस्ट खुलाइएको छ । बुलिङ, फेक आईडी बनाएर झुक्याउनेलगायत क्रियाकलाप त्यसमा छन् ।’
सिर्जनात्मक प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका विषयलाई भने सम्मान गरिने भनेर निर्देशिकामा उल्लेख भएको सुवेदीको भनाइ छ । उनका अनुसार मन्त्रालय र नियामक निकायको भूमिका एवं प्रयोगकर्ता र प्लाटफर्म सञ्जालका जिम्मेवारी त्यसमा समेटिएका छन् । ‘सामाजिक सञ्जाल प्लाटफर्महरू पहिचानमा आएनन् वा आफ्नै हिसाबले चले भने तिनलाई कारबाही गर्ने भन्ने लाइनमा हामी जान खोजेका छैनौं,’ उनले भने, ‘स्वनियमन र सेचतनाका लागि निर्देशिका बनाइएको हो ।’
कानुन मन्त्रालयबाट निर्देशिका सञ्चार मन्त्रालयमा आएपछि मन्त्रिपरिषद्मा पठाउने र त्यहाँबाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहँदा यससम्बन्धी ऐनका लागि पनि छलफल भइरहेको छ । सुरुमा निर्देशिका र त्यसपछि कानुन नै बनाएर सामाजिक सञ्जाल व्यवस्थापनमा सरकार जुटेको छ । अब बनाउने सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी कानुनले के–के गर्न हुने र के नहुने भन्ने क्याटगोरिकल्ली समेट्ने बताइएको छ । निर्देशिकमा सजगता अपनाउनुपर्ने विषयबारे समावेश गरिएको छ । सजगता अपनाउँदा अपनाउँदै पनि साइबर स्पेसमा खेलेर आपराधिक क्रियाकलाप गरिन्छ भने त्यसमा दण्ड–सजायका कुरा चाहिने भएकाले ऐनसमेत तर्जुमा गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

Page 6
अर्थ वाणिज्य

बाटो छैन, ४ करोड खर्चेर सहिद पार्क

- महेश केसी

(रुकुम पूर्व)
मोटरबाटोसम्म पुग्न बस्तीबाट अक्करे भीर काटेर दुई घण्टा हिँड्नुपर्छ । भीरको बाटोमा हिउँदमै पनि सुक्खा पहिरो खसिरहन्छ । विकासको आधारभूत पूर्वाधारसमेत नपुगेको बस्तीमा ४ करोड खर्चेर सहिद पार्क निर्माण गरिएको छ ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट १५ किलोमिटर टाढाको सिस्ने–२ तिप्तरास्थित नेटामा प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गरिएको हो । तिप्तरा पुग्न भुमे गाउँपालिका–५ को बालुवा हुँदै जानुपर्छ । बालुवाबाट पुथाउत्तरगंगागा–१४ देउखोलासम्म पुग्न दुई पटक गाडी फेर्नुपर्छ । देउखोलाबाट तीन किलोमिटर पैदल हिँड्नुपर्छ ।
तिप्तराका गणेश केसीले गाउँको विकासका लागि पार्कभन्दा सडकलाई प्राथमिकतामा दिनुपर्ने बताए । सहिदको सम्झनामा पार्क निर्माण गरिनु नराम्रो नभए पनि त्यसले स्थानीयको आवश्यकता पूर्ति नगर्ने उनले बताए । ‘भीरको बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकाले स्थानीयलाई पार्कभन्दा पहिला सडक जरुरी छ,’ उनले भने, ‘त्यसतर्फ सरकारको ध्यान गएन । पार्क भने धमाधम निर्माण भयो ।’
गाउँपालिका र प्रदेश सरकारको २/२ करोड रुपैयाँ लगानीमा पार्क निर्माण गरिएको सिस्ने–२ का वडाध्यक्ष कृष्ण खड्काले बताए । उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पार्क निर्माण सुरु भएर २०७९/८० मा निर्माण पूरा भएको हो । बस्तीमा रहेको बगैंचालाई सहिद पार्क नामकरण गरिएको उनले बताए । पार्कमा पुग्न तिप्तरा गाउँबाट ५ सय मिटर लामो सिँढी बनाइएको छ भने बीच–बीचमा बिसौनी बनाइएको छ । नेटामा पुगेपछि फराकिलो चौरमा पार्क रहेको छ ।
पार्कमा सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका १३ जना स्थानीयको प्रतिमा निर्माण गरिएको छ । प्रतीक्षालय, संग्रहालयका लागि घर, धारा र शौचालय बनाइएको छ । यहाँ पुगेपछि वरिपरिको ग्रामीण दृश्य र खोलानाला नियाल्न सकिन्छ । पार्कमा तत्कालीन सशस्त्र द्वन्द्वमा मृत्यु भएका माओवादी कार्यकर्ताको मात्रै प्रतिमा राखिएकामा स्थानीयको आपत्ति छ । सिस्ने–२ की मञ्जु खड्काले द्वन्द्वका क्रममा मारिएका सबै स्थानीयको प्रतिमा राखिनुपर्ने बताइन् । माओवादी पक्षबाट मारिएका कांग्रेसका भीमबहादुर पुन र एमालेका दलराम खड्काको सालिक नबनाएकामा स्थानीयको आपत्ति छ ।
माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको स्मरणका लागि ‘जनयुद्ध संग्रहालय’ का रूपमा यस ठाउँलाई विकास गर्ने उद्देश्यले पार्क बनाइएको वडाध्यक्ष
खड्काले बताए । यसको दीर्घकालीन महत्त्व रहेको उनको भनाइ छ । ‘झट्ट हेर्दा पार्कभन्दा अरू आवश्यक थियो भन्ने जस्तो लाग्छ,’ उनले भने, ‘त्यो स्वाभाविक हो । पार्कले भविष्यमा ठूलो अर्थ राख्नेछ ।’ यहाँ युद्धसँग सम्बन्धित विभिन्न सामग्री राखेर संग्रहालय बनाउने योजना रहेको उनले बताए । त्यसपछि यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने उनले जनाए ।
निवर्तमान वडाध्यक्ष जीवन केसीले द्वन्द्वका क्रममा मृत्यु भएका सबैको सालिक राख्नेबारे छलफल भए पनि ‘जनयुद्ध संग्रहालय’ का रूपमा बनाउन खोजिएकाले माओवादी बाहेककाको नराखिएको बताए । गाउँका लागि सडक निर्माण मुख्य भए पनि पार्कमा मात्रै लगानी गरिएको नभएर बिजुली बत्ती, टेलिफोन, बाटोघाटोलगायत संरचना पनि निर्माण गरिएको उनले बताए ।
गाउँभन्दा टाढा र यातायातको सुविधा नभएकाले पार्क सुनसान हुने गरेको छ । घुम्न आउने नहुँदा पार्कमा अहिले झार उम्रिएको छ । संग्रहालय बनाउने भनिएको घरमा पनि ताला लगाइएको छ । मोटर बाटो नपुगेकाले अहिले पनि घोडा, खच्चडमा भारी बोकाएर तिप्तरासम्म दैनिक उपभोग्य सामान ल्याउने गरिएको छ । साविकको प्वाङ गाविसलाई सिस्ने–२ वडा कायम गरिएको छ । सिंगै वडालाई नै सडक सञ्जालले नछुँदा स्थानीयको दैनिकी कष्टकर भएको स्थानीय सीता बुढाले बताइन् । यहाँ तीनवटा आधारभूत र एउटा माध्यमिक विद्यालय छन् । एउटा स्वास्थ्य चौकी छ । शिक्षा, स्वास्थ्य र रोजगार सन्तोषजनक नभएको सुनाइन् । ‘अस्पतालमा चाहिएका बेला औषधि पाइँदैन,’ उनले भनिन्, ‘भीरको बाटोमा ढुंगा छलेर हिँड्नुपर्छ ।अनि, राम्रो स्कुल पनि छैन ।’
रुकुमकोटबाट गाउँसम्म भुमे र पुथाउत्तरगंगा पालिका भएर जानुपर्छ । भुमेको धाउनेदेखि पुथाउत्तरगंगाको देउखोलासम्म करिब ११ किलोमिटर कालोपत्र सडक छ । देउखोलाबाट सिस्नेसम्म सडक निर्माण जरुरी छ । देउखोलादेखि पुथाउत्तरगंगाको त्रिवेणीसम्मको कुल ११ दशमलव ६ किलोमिटर सडक निर्माण अलपत्र छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुकुम पश्चिमका इन्जिनियर रामआशिष शाहका अनुसार यो खण्डमा शंकर माली निर्माण सेवाले काम गरिरहेको छ । उक्त कम्पनीले २०७५ जेठमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । निर्माण पूरा नभएपछि म्याद थप गरे पनि काम नभएकाले कम्पनीसित ठेक्का तोड्ने प्रक्रियामा रहेको शाहले बताए ।

अर्थ वाणिज्य

उद्योग परिसंघ कोशीमा सारडा सर्वसम्मत

- कान्तिपुर संवाददाता

मोरङ (कास)– नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा पवनकुमार सारडा सर्वसम्मत चयन भएका छन् । परिसंघको शुक्रबार सम्पन्न तेस्रो साधारण सभाले सारडाको अध्यक्षतामा ४० सदस्यीय कार्यसमिति सर्वसम्मति चयन गरेको हो । संविधानसभा सदस्य सारडाले मोरङ व्यापार संघको लगातार दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।
वरिष्ठ उपाध्यक्षमा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, पाँच जना उपाध्यक्षमा नवलकिशोर काबरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता चयन भएका छन् । महिला उपाध्यक्षमा गिरिजा सारडा, तीन जना मानार्थ उपाध्यक्षमा रमेश राठी, गिरिश लुनियाँ र घनश्याम काबरा र कोषाध्यक्षमा साकेत राठी सर्वसम्मत भएको नवनिर्वाचित अध्यक्ष सारडाले बताए । महिला समितिको संयोजकमा रचना राठी र युवा समितिको संयोजकमा अनमोल प्रधान चयन भएको उनले बताए । अध्यक्ष सारडाले परिसंघ कोशीको प्रवक्ता मानार्थ उपाध्यक्ष राठीलाई तोकेका हुन् । नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार नै पदस्थापना गरेका छन् । सारडाले सरकारको व्यावसायिक नीति व्यावहारिक र लगानीमैत्री हुन नसक्दा राजस्व संकलन र व्यवसायमा समस्या देखिएको बताएका छन् । उनले मुलुकमा देखिएका उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


बीवाईडी ब्लेड ब्याट्रीको सफल परीक्षण
काठमाडौं (कास)– नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्कले सफलतापूर्वक बीवाईडी ब्लेड ब्याट्रीको तापवाहन परीक्षण (नेल पेनेट्रेसन टेस्ट) गरेको छ । परीक्षणका क्रममा अत्यधिक प्रतिकूल परिस्थितिमा पनि बीवाईडी ब्लेड ब्याट्रीमा सतहको ताप उल्लेखनीय रूपमा कम रहेको पाइएको छ भने सोही अवस्थामा अरू धेरै ब्याट्री विस्फोट भई आगो लागेको पाइएको छ । साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठले विद्युतीय गाडीलाई ब्लेड ब्याट्रीको सुरक्षाले एक कदम अगाडि बढाएको बताए ।
‘परम्परागत लिथियम आयन ब्याट्री परीक्षणका बेला ५०० डिग्री सेल्सियसभन्दा माथिको खतरनाक उच्च तापक्रमसम्म पुगेर आगो लागेको थियो भने ब्लेड ब्याट्रीको सतहको तापक्रम ३० देखि डिग्री सेल्सियससम्म मात्र पुगी आगो वा विस्फोटको केही सम्भावना देखिएन,’ साइमेक्स इन्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘नेल पेनेट्रेसन टेस्ट’का बेला ब्लेड ब्याट्रीको प्रदर्शनले यसको असाधारण सुरक्षाका बारेमा पुष्टि गरेको कम्पनीले जनाएको छ । ‘अनपेक्षित बाहिरी तत्त्वको प्रभावमा पनि अप्रभावित र सुरक्षित रहनुले ब्लेड ब्याट्रीको अतुलनीय विश्वसनीयताको प्रमाण दर्शाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
यामाहा नेपालको मोटोजीपी
साहसिक यात्रा
काठमाडौं (कास)– यामाहा नेपालको मोटोजीपी साहसिक यात्रा सम्पन्न भएको छ । भारतमा कार्यक्रम सम्पन्न भई ९ जना यामाहा बाइकर नेपाल फर्किएका छन् । नोयडाको बुद्ध सर्किटमा भएको मोटोजीपीमा राइडर्स टोलीले सेप्टेम्बर २३ र २४ मा रेसिङ अनुभव गरेको थियो । यात्रामा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रूपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की, तारा खड्का र मार्सल प्रमोद श्रेष्ठ सहभागी थिए । ‘यामाहा नेपालले आफ्ना ९ जना समर्पित राइडरहरूका साथ मोटोजीपीको थ्रिल र मोटरसाइकलप्रतिको अटुट प्रेम उत्सव मनाउन यो यात्रा सुरु गरेको थियो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आठ दिनमा २१६० किलोमिटरको दूरी छिचोल्दै यो साहसिक कार्यले उनीहरूको असिम जोस र अटल प्रतिबद्धताको बलियो प्रमाणका रूपमा कार्य गरेको छ ।’
जीडब्लूएमको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सञ्चालन
काठमाडौं (कास)– जीडब्लूएम सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्सले टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । असोज १२ देखि सुरु भएको क्याम्प १८ गतेसम्म चल्ने भीजी इम्पेक्सले जनाएको छ । कम्पनीका अनुसार थापाथली र भक्तपुर सोरुममा बिहान १० देखि बेलुका ५ बजेसम्म क्याम्प आयोजना भइरहेको छ । क्याम्पमा टेस्ट ड्राइभ अनुभवका साथै एक्सचेन्जको अवसर पाइने छ । ‘ग्राहकले यस क्याम्पमार्फत जीडब्लूएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना विजेताले एमआई टीभी जित्ने अवसरका साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधा र ओरा ०३ सँग ७ किलोवाट फास्ट चार्जर जस्ता उपहार पाउनेछन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भक्तपुरमा एमजी गाडीको सोरुम
काठमाडौं (कास)– एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले भक्तपुरको गठ्ठाघरमा सोरुम सञ्चालनमा ल्याएको छ । पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले नवीनतम एमजीका मोडेलहरू, बिक्रीपछिको सेवा प्रदान गर्न सोरुम सञ्चालनमा ल्याइएको बताए । हाल नेपालभर एसी र डीसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू रहेको पारामाउन्ट मोटर्सले जनाएको छ । सन् २०२३ को अन्त्यसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनहरूको संख्या ५० पुर्‍याउने लक्ष्य राखेको छ । ‘मूलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डीसी चार्जिङ स्टेसनहरू स्थापना भएको छ,’ पारामाउन्ट मोटर्सले भनेको छ, ‘यी स्थानहरूमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौंडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डीसी चार्जिङ स्टेसन स्थापना गरिनेछ ।’
कुमारी बैंकका थप ५ शाखा सञ्चालन
काठमाडौं (कास)– कुमारी बैंकले थप ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कपन, सीतापाइला र डल्लु तथा ललितपुरको भैंसेपाटी र टौखेलमा शाखा विस्तार गरेको हो । यीसहित देशभर कुल शाखा संख्या ३०९ पुगेको बैंकले जनाएको छ । ‘यी शाखाबाट उद्यमी, व्यापारी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुगेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘बैंकले आगामी दिनमा थप शाखाहरू विस्तार गर्ने योजना बनाएको छ ।’

Page 7
समाचार

दोलखामा ३ किलो सुन बरामद

- कान्तिपुर संवाददाता


दोलखा (कास)– बिगु गाउँपालिका–३ जामुनेबाट थप तीन किलो सुन बरामद भएको छ । चीनबाट अवैध रूपमा ल्याएर लुकाएको थप तीन किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले जामुनेबाट बरामद गरेको हो । अनुसन्धानका क्रममा बुधबार पक्राउ परेका केशर तामाङको कोठा खानतलासी गर्दा थप सुन बरामद भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम तामाङले बताए । योसहित बुधबारयता दोलखा प्रहरीले तस्करबाट बरामद गरेको सुन ७ केजी पुगेको छ । सुन तस्करीको आरोपमा बिगु–१ लामबगरका पाँच जना पक्राउ परिसकेका छन् । बुधबार चीनको रोङजिया नाका हुँदै भित्रिएको ४ किलो सुनसहित पक्राउ परेका केशरको बयानका आधारमा अन्य चार जना पक्राउ परेका हुन् ।
चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । तस्करीमा संलग्न अन्य चार जना फरार रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूसँग अझै बढी सुन हुन सक्ने अनुमानमा प्रहरीले खोजी गरिरहेको छ । आइतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलेको थियो । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यही नाकाबाट अवैध सुन नेपालतर्फ भित्रिएको प्रहरीले जनाएको छ ।

समाचार

शम्भुनाथका नगर प्रमुख भ्रष्टाचारमा दोषी ठहर

- कान्तिपुर संवाददाता


राजविराज (कास)– सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहलाई शुक्रबार दोषी ठहर गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गुप्ता र साहलाई जनही ६ महिना कैद र ७० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
नगर प्रमुख गुप्ता २०७९ फागुन १७ गतेदेखि निलम्बित छन् । नगर प्रमुख गुप्ता र इन्जिनियर साहको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घूस लिएको आरोपसहित अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बित थिए । अख्तियारको टोलीले २०७९ माघ ३ गते इन्जिनियर साहलाई १ लाख ४० हजार रुपैयाँ घूस लिएको भन्दै नियन्त्रणमा लिएको थियो ।

समाचार

चीनबाट फर्किंदा हातमा चेक

- कान्तिपुर संवाददाता

 

क्रिकेट खेलाडीलाई घोषणा गरिएको पुरस्कार रकम रोकिएको विषयमा सरकार गम्भीर छ । यसका लागि कार्यविधि संशोधनको प्रक्रिया अगाडि बढेको छ । कानुनी प्रक्रिया अलिक झन्झटिलो भएकाले ढिलाइ भएको हो, यसमा दुःख पनि लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार आउँदै हुनुहुन्छ र सोमबार क्याबिनेट बसेर यसलाई टुंगाउने तयारी भइरहेको छ । आज पनि मन्त्रालयमा सचिवज्यूलाई यो प्रक्रिया अगाडि बढाउनुस् भनेका छौं ।
झन्झटिलो प्रक्रियाले खेलाडीलाई दिनुपर्ने पुरस्कार समयमै दिन नसक्दा मिडियाले पनि यसबारेमा आवाज उठाइरहेकै छन् । त्यसैले एसियाली खेलकुदबाट क्रिकेट खेलाडीहरू फर्किंदै गर्दा यो सबै टुंगाउँछौं भनेका छौं ।
अरू खेलको स्वर्ण पदक, रजत र कांस्य भनेर कार्यविधिमा लेखिएको छ, तर नेपालको राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग २ मा विजेता नभई राम्रो खेलेर तेस्रो स्थान हात पार्दै विश्वकप छनोटमा पुगेकामा पनि सरकारले पुरस्कार घोषणा गर्‍यो, तर यसबारे कार्यविधि स्पष्ट छैन । लिग २ मा तीनवटा शृंखलामा नेपालले सफलता हात पार्‍यो । तर यो कुरा कार्यविधिमा नलेखिएकाले यो संशोधन गरेर जानुपर्ने भयो । संशोधनको प्रक्रियामा जाँदा विधि प्रक्रिया त पुर्‍याउनुपर्‍यो नि । कानुनको सहमति लिने, अर्थको सहमति लिनेलगायतका झन्झटिलो प्रक्रियामा अहिले हामी छौं । यो अहिले अन्तिम चरणमा छ, चाँडै नै टुंगिन्छ ।
म मन्त्री भएर आएदेखि नै यो प्रक्रियामा लागेको लाग्यै छु । यसलाई टुंग्याउन सरकारमा सबै सकारात्मक छन् । प्रधानमन्त्रीले निर्देशन दिँदा पनि समय लागिरहेको छ भने पछि तपाईं आफैं बुझ्नोस्– प्रक्रिया कति झन्झटिलो छ ।
एसियाली खेलकुदमा नेपाललाई अहिलेसम्म त क्रिकेटले नै चिनायो । नेपालले एउटै खेलमा ५–६ वटा विश्व कीर्तिमान कायम गरेको छ, त्यो त अप्रत्याशित हो । चना चिउरा खाएर खेलेका खेलाडीले यो कीर्तिमान बनाएको देख्दा हाम्रो त त्यहाँ रगत उम्लिएर आयो । मैले खेलाडीलाई प्रत्यक्ष भेटेर आएँ । तनाव नलिनोस् भनें । उनीहरूको गुनासो फेरि पनि घोषित पुरस्कार रकम नपाएकैमा थियो । सरकारले प्रतिबद्धता व्यक्त गरेको पुरस्कार तपाईंहरू पाउनुहुन्छ, ढिलोचाँडो हो भनेको छु । अब जित्ने लक्ष्य बनाएर खेल्नु भनेर आएको छु । खेलाडीहरू फर्केर आउँदा हातमा चेक राख्छु भनेर वाचा गरेको छु ।

समाचार

ठगी आरोपमा अभिनेता केसी पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । चलचित्र ‘रावायण’ निर्माणका लागि १० लाख रुपैयाँ अग्रिम बुझेर पनि छायांकनमा नआएको भन्दै निर्माता पक्षले दिएको उजुरीका आधारमा केसी पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार अपराह्न भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात’ गरेको आरोप लगाइएको छ । रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए । त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले चलचित्र अभिनयका लागि रकम लिएर पनि छायांकनमा नगएपछि निर्माता पक्षले उजुरी दिएको र त्यसकै आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ
गरिएको बताए ।
‘केही दिनअघिबाटै चलचित्रको छायांकन सुरु गर्ने भनिएको रहेछ । त्यसका लागि नायक–नायिका, प्राविधिक टोली लगायतलाई निर्माता पक्षले १ करोड पाँच लाख रुपैयाँ बाँडिसकेको रहेछ । त्यसमध्ये केसीले १० लाख रुपैयाँ बुझेर पनि छायांकनमा नगएपछि पीडित पक्ष उजुरी लिएर प्रहरीमा आएको थियो,’ एसएसपी राठौरले भने, ‘त्यसपछि केसीलाई बोलाएर दुवै पक्षसँग कुरा गर्न खोज्दा प्रहरीलाई नै ‘जे गर्नु छ गरे हुन्छ’ भन्दै धम्क्याएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।’

Page 8
खेलकुद

रत्नराज्य र ब्लुबर्ड विजयी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एपेक्स अन्तर कलेज कप क्रिकेट प्रतियोगितामा शुक्रबार रत्नराज्य लक्ष्मी क्याम्पस र ब्लुबर्ड कलेज विजयी भएका छन् ।
रत्नराज्यले काठमाडौं स्कुल अफ ल (केएसएल) लाई ४८ रनले पराजित गरेको थियो । रत्नराज्यले २० ओभरमा ९ विकेट गुमाई १ सय ३२ रन बनाएको थियो । कृष्ण परियारले ३८ बलमा ३३ रन, सन्दीप ऐरीले १७ र दिवाकर अवस्थीले ११ रन जोडेका थिए । काठमाडौं स्कुलका विमल आचार्यले २२ रन खर्चेर ५ विकेट तथा विवेक अधिकारीले २ र अरुण शर्माले १ विकेट लिएका थिए ।
जवाफमा वर्षाका कारण दोस्रो इनिङ्समा १८ ओभरमा केएसएललाई १२१ रनको लक्ष्य दिइएको थियो । तर केएसएल १४.४ ओभरमा ७२ रनमै समेटियो । विवेक अधिकारीले मात्र दोहोरो अंकमा रन जोडे । उनले ३० बलमा २९ रन जोडेका थिए । रत्नराज्यका यमन जोशीले ३, आशराज रन्जित र कृष्ण परियारले समान २ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका कृष्ण परियार प्लेयर अफ द म्याच भए ।
हब इन्टरनेसनलको प्रस्तुतिमा एपेक्स कलेजले आयोजना गरेको प्रतियोगिताको शुक्रबार अर्को खेलमा ब्लुबर्डले फोनिक्स कलेजविरुद्ध ५ विकेटको जित पायो । १ सय १ रनको लक्ष्यलाई ब्लुबर्डले १६.१ ओभरमा पूरा गरेको थियो । निर्भीक पाठकले ५१ र सचिन लेखकले ३१ रन बनाएका थिए । फोनिक्सका किरण चन्द र राजकुमार शाहले समान २ र रवीन्द्र भुसालले १ विकेट लिए । त्यसअघि फोनिक्सले १७ ओभरमा ९ विकेट गुमाई १ सय रन बनाएको थियो । कृष ऐरले ३५, विराजसिंह भण्डारीले १७ र समीर विष्टले १५ रन बनाए । ब्लुबर्डका बलर विपिन आचार्य र सुवास
खत्रीले समान २ र मेहुल श्रेष्ठ १ विकेट लिएका थिए । अर्धशतक बनाएका निर्भीक प्लेयर अफ द म्याच भए ।

खेलकुद

पब्जीमा नेपाल टिम सेमिफाइनलमा

- हिमेश

(हाङचउ)
नेपालले १९ औं एसियाली खेलकुदको ई–स्पोर्टसअन्तर्गत पिस एलिट पब्जी मोबाइलमा शुक्रबार सेमिफाइनल यात्रा तय गरेको छ । एलिमिनेट चरणको समूह ‘सी’ मा दोस्रो भएर नेपाल सेमिफाइनल पुगेको हो ।
नेपालका लागि सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले चुनौती पेस गरेका थिए । नेपालको समूहमा हङकङ पहिलो भयो ।
प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएका छन् । अब नेपालले शनिबार सेमिफाइनल खेल्नेछ । यसमा दोस्रो स्थान प्राप्त गरे नेपाल फाइनलमा स्थान बनाउने छ । फाइनलमा पुगे पनि नेपालको पदक सम्भावना निश्चित हुने छैन । स्वर्ण पदकको भिडन्तमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसमा शीर्ष तीनभित्र रहे मात्र पदक जित्ने छ ।
समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनल पुगेका छन् । अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर सेमिफाइनल खेलाइने छ । सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन् । समूहका शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

एथलेटिक्स
महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ शुक्रबार छैटौं स्थानमा रहिन् । कुल आठ खेलाडीसम्मिलित दौडमा सन्तोषीले ३८ मिनेट ४०.१५ सेकेन्डको समय निकालिन् । त्यस स्पर्धामा बहराइनकी भिओला मोटोसिओलोले ३१ मिनेट ४३.७३ सेकेन्डको समयमा स्वर्ण पदक जितिन् । सन्तोषी १३ औं सागकी स्वर्ण विजेता धाविका हुन् । उनले ३५ मिनेट ०७.३४ सेकेन्डको व्यक्तिगत उत्कृष्ट टाइमिङलाई एसियाडमा सुधार्न सकिनन् ।
सोमबहादुर कुमालले पुरुष ४ सय मिटर दौड ४८.६८ सेकेन्डमा पूरा गरे । दोस्रो हिटमा सहभागी सातमध्ये उनी पाँचौं भए । उनले दक्षिण कोरिया र किर्गिस्तानका धावकलाई पछि पारे । कुल २० प्रतिस्पर्धीले दुरी पार गर्दा सोमबहादुर १७ औं स्थानमा रहे । सोमले एसियाडको तयारी प्रशिक्षणका दौरान नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको बताए ।

गल्फ
गल्फमा पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा भएको पुरुष व्यक्तिगत स्पर्धामा शुक्रबहादुर राईबाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाउन सकेनन् ।
दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको कुल ३६ होलमा ५ अन्डर १ सय ३९ स्कोर छ । पहिलो शुक्रले दुई अन्डर ७० को कार्ड बनाएका थिए । उनी समग्रमा २९औं स्थानमा रहादै फाइनल चरणलाई छानिए ।
पदक आशा गरिएका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचे जस्तो रहेन । समग्रमा इभन पार १ सय ४४ खेलेका सुवास र २ ओभर १ सय ४६ को कार्ड बनाए सद्भाव व्यक्तिगत स्पर्धाबाट बाहिरिए । अर्का प्रतिस्पर्धी युवराज भुजेल समग्रमा ११ ओभर १ सय ५५ कार्ड बनाएर बाहिरिए ।
नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुष्मा सिग्देल र कश्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर ३ सय ५४ स्कोर खेले ।
दोस्रो दिन शुक्रबार कश्मिराले ११ ओभर ८३ र सुष्माले १६ ओभर ८८ खेलेकी थिइन् । महिला टिम स्पर्धामा नेपाल १३ औं भयो । १४ टोली सहभागी टिम इभेन्टमा नेपालले मंगोलियालाई पछि पार्‍यो ।
पुरुषतर्फ हङकङका खो ताइची २१ अन्डर १ सय २२ स्कोरसहित शीर्षस्थानमा छन् ।

ब्याडमिन्टन
ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा नेपालको यात्रा शुक्रबार क्वाटरफाइनलमै सीमित रह्यो । भारतले नेपाललाई सजिलै हराएको हो । बिनजियाङ जिम्न्याजियममा भएको खेलमा नेपालका तीनै खेलाडी एकपक्षीय ढंगले पराजित भए । भारतका लक्ष्य सेनले प्रिन्स दाहाललाई २१–५, २१–८ ले हराए । श्रीकान्त किदाम्बीले सुनिल जोशीलाई २१–४, २१–१३ ले पन्छाए । तेस्रो तथा अन्तिम खेलमा मन्जुनाथ मिथुनले विष्णु कटुवाललाई २१–२, २१–७ ले हराए । यसअघि नेपालले मंगोलियालाई हराएर क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

बास्केटबल
महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । जिओग्राफिम इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ स्कोरको फराकिलो अन्तरले पराजित भयो । नेपालबाट कप्तान श्रेषा खड्का र मीना गुरुङले १–१ स्कोर गरे । यसअघि नै जापान र काजकिस्तानसँग पराजित
नेपाल लगातार तेस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ।
नेपाल पहिलो खेलमा जापानसँग २२–४ ले पराजित भयो । दोस्रो खेलमा काजकिस्तानसँग नेपाली टिम १७–१० स्कोरले हारेको हो ।

पौडी
पौडीमा नेपालबाट एसियाडमा सहभागी सबै खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । शुक्रबार नेपालका नासिर हुसेन हिट चरणबाटै बाहिरिए । हाङचउ ओलम्पिक स्पोर्ट्स सेन्टर एक्वाटिक एरिनामा पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेन्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भए । समग्रमा भने उनी २५ सहभागीमध्ये २२ औं स्थानमा रहे ।
यसअघि नासिर २०० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएका थिए । नासिरको स्पर्धापछि पौडीमा नेपाली खेलाडीको चुनौती सकिएको छ । पौडीमा नेपालबाट चार खेलाडीले ८ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । नेपालका कुनै पनि खेलाडीले हिट चरण पार गर्न सकेनन् ।

बक्सिङ
बक्सिङको महिला ५७ केजीमुनिको तौल समूहमा नेपालकी चन्द्रकला थापा शुक्रबार पहिलो चरणमै पराजित भइन् । अन्तिम १६ को प्रतिस्पर्धामा उनी थाइल्यान्डकी पोनटिप बुपासँग अंकका आधारमा ५–० ले हारिन् ।
महिला ७५ केजीमुनि तौलमा सरस्वती रानाले पहिलो खेलमा बाइ पाएकी छन् । सरस्वती भियतनामकी ली डिएम क्विन्हविरुद्ध क्वाटरफाइनल जितिन् भने कांस्य पदककी हकदार हुनेछिन् । इन्चोन एसियाड खेलेकी सरस्वतीले १२ औं सागकी कांस्य विजेता हुन् ।

ह्यान्डबल
ह्यान्डबलमा नेपाली महिला टोली उपाधि दाबेदार हङकङसँग समूह ‘बी’ को खेलमा २७–१८ ले पराजित भयो । नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन । दोस्रो हाफमा भने नेपाली महिला खेलाडीले सुदृढ प्रदर्शन गर्दै हङकङलाई कडा चुनौती दिएको थियो । दोस्रो हाफमा नेपाल १३–१२ ले मात्र पछाडि परेको थियो ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता

नेसनल बास्केटबल लिग सुरु
काठमाडौं (कास)– त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार नेसनल बास्केटबल लिग (एनबीएल) सुरु भएको छ । उद्घाटन खेलमा टाइम्स इन्टरनेसनल कलेजले कीर्तिपुर बास्केटबल क्लबलाई ११६–९८ स्कोरले पराजित गरेको छ । मोस्ट भ्यालुएबल प्लेयर भएका टाइम्सका विजय बुर्जाले १० हजार बराबरको गिफ्ट भौचर पाएका छन् । शनिबार त्रिभुवन आर्मी क्लब र विशाल मिलन केन्द्र तथा रोयल स्पोर्टस क्लब र गोल्डेनगेट बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
भेट्रान फुटबल हुने
काठमाडौं (कास)– बीबी एयरवेज भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नैकाप फुटबल मैदानमा असोज २० देखि २४ सम्म हुने प्रतियोगितामा ४० वर्षमाथिका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक बीबी गोर्खाज एफसीले जनाएको छ । २० टिमले भाग लिने प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुन्दर थापा क्षेत्रीले जनाए । उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले काठमाडौं–मलेसियाको आतेजाते हवाई टिकट प्राप्त गर्नेछन् ।
हिसुब काठमाडौं रेजर्सको मार्की
काठमाडौं (कास)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि साबिक विजेता काठमाडौं रेजर्स एफसीले हिसुब थपलियालाई मार्की खेलाडी बनाएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएल मंसिर ८ देखि हुँदै छ । हिसुबले म्यानमारविरुद्ध खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । सहिद स्मारक लिगमा जावलाखेल युथ क्लबबाट खेलेका थिए । ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा उनलाई लिइएको रेजर्सले जनाएको छ ।

Page 9
कोसेली

आफैं आख्यान, आफैं पात्र

- विष्णु सापकोटा

 

तत्कालीन गाउँ पञ्चायतको नाम नै करेन्डाँडा राखिएको भए पनि यो डाँडा धेरै अग्लो थिएन । २०२० को मध्यदशकमा सिद्धार्थ राजमार्गले छिचोलेर गएको यो डाँडामा मेरो घर राजमार्गछेउमै थियो ।
आफैं डाँडा भएर के गर्नु, घरका पूर्वपट्टि यति अजंगका अरू डाँडा थिए कि ती कति अग्ला थिए भन्ने नै देखिँदैनथ्यो । तर, पश्चिम फर्केको घरको पारि टाढाटाढासम्म सबै खुला थियो । नागबेली परेको आँधीखोला पर तल आँगनबाटै देखिन्थ्यो । टाढा पारिपारि अग्ला अरू डाँडाहरू देखिन्थे । पूर्वका डाँडाले छेकेर घाम केही ढिलो गरी उदाए पनि उदाएपछिका घाम भने मेरो घरमा ढिलो गरी अस्ताउँथे । ऋतुअनुसार अलिकति यताउता सर्नेबाहेक बादल नलागेको दिन मेरो घरबाट सुदूर क्षितिजका पश्चिमी पहाडमा घाम डुबेको दृश्य वर्षभरि नै देखिन्थ्यो ।
त्यत्रो ठूलो सूर्य अस्ताएर हरेक दिन डुब्न अटाउने डाँडापारिको संसार कस्तो होला ? कल्पना नै कल्पनातीत हुन्थे । जति सोचिनसक्नुको विशाल र अचम्मको भए पनि त्यो संसार त्यहीँ परको डाँडामुनि छ भन्ने नै लाग्थ्यो । इतिहासको धार नै सधैंका लागि बदलेको दोस्रो विश्वयुद्धमा केही समय ब्रिटिस–भारतीय फौजमा काम गरेका किस्सा सुनाउने बुबा मलाई त त्यतिबेला सानोतिनो इतिहास निर्माता नै लाग्थे । त्यस्तो कर्मलाई शिक्षित भाष्यले भाडाको सिपाही भएको भन्छ भन्ने मलाई थाहा थिएन । लडाइँमा जाने फौजका कथा हुन् वा भारतमा चारधाम गर्दा डुलेका ठाउँका, बुबाले आफ्ना कथा सुनाएपछि हामी सोध्थ्यौं– ती ठाउँहरू हाम्रो घरबाट कति टाढा छन् ? ७–८ वर्षका केटाकेटीलाई के भनेर अर्थ्याउनु भन्ने भएर सजिलोका लागि होला, बुबा ती सबै ठाउँ ‘उ त्यहाँ पारि डाँडामा जहाँ घाम अस्ताउँछन् त्यसैको मुनि छन्’ भनिदिनुहुन्थ्यो । पोखरा–सुनौली लेखेका बसहरू घर नजिकैबाट गुड्थे । सुनौली कति टाढा भनेर सोधे बुबा ‘उ त्यही घाम अस्ताउने डाँडाको उता’ भनिदिनुहुन्थ्यो । बाल्यकालभरि मैले आफूले वरिपरि देखेबाहेकको सबै सबै संसारहरू त्यही क्षतिजका डाँडाहरूको उतापट्टि थिए ।
राजमार्गको छेउमै घर भएकाले, टाढा भारतका विभिन्न ठाउँबाट पशुपतिनाथ जान हिँडेरै आउने साधुहरू बेलाबेला हामीकहाँ बास बस्थे । बुबासँग उनीहरू के बोल्थे हामी बुझ्दैनथ्यौं । तर, आफ्ना गाउँका बाहेक संसारमा मान्छेहरू यस्ता पनि हुँदा रहेछन् भन्ने देख्दा रमाइलो हुन्थ्यो । तिनलाई हिप्पी भन्दा रहेछन् भन्ने त वर्षौंपछि थाहा भयो । ती अम्रिकानेहरू सुनौलीतिरबाट राजमार्गमा हूलका हूल आउँथे । कोही साइकलमा, कोही दुईतले बसमा, कोही जिपमा । आउँदाआउँदै कुनै ठाउँ मन पर्‍यो भन्ने आफ्नो वाहन ठाउँको ठाउँ रोकेर दिउसैदेखि बाटो किनारमा बास बस्ने कति हुन्थे कति । घर नजिकै कतै उनीहरू रोकिएर बसेका बेला हामी केटाकेटीहरू वरिपरि गएर हेर्थ्यौं । कहिलेकाहीँ कसैकसैले हामीलाई अनौठा लाग्ने सामान दिन्थे । एक दिन एक जना हिप्पी जोडीलाई के लाग्यो होला भने हामीलाई केही दिऊ सायद उनीहरूसँग हामीलाई दिन केही बाँकी नभएर पनि । उनीहरूले एउटा बडेमानको बेलुन थिए । दुई पटक फुक्न नपाउँदै फुटिहाल्ने पुन्टुरे बेलुनबाहेक अर्को नदेखेका हामीहरू त्यो फुट्दै नफुट्ने अजंगको बेलुन फुक्दै राजमार्गमा यता र उता गर्न थाल्यौं । एक जना पाका दाइले गाली गरेर त्यो फुक्दाफुक्दैको बेलुन खोसेर फुटाइदिँदा हामीलाई चित्त दुखेको थियो । त्यो बेलुन परिवार नियोजनका लागि पुरुषले प्रयोग गर्ने सामग्री हो भनेर हामीलाई हिप्पीले भनेका थिएनन् ।
ल ल ल
२०२२ को साहित्यतर्फको नोबेल पुरस्कारको सम्मान पाएकी फ्रेन्च लेखिका यानी अर्नोका पुस्तकहरू यो वर्षभरि नै अधिक चर्चामा छन् । उनको अमेरिकी प्रकाशक द सेभेन स्टोरिज प्रेसलाई त उनका किताब छाप्नै भ्याईनभ्याई छ भन्ने खबर आएका थिए । कताकताको संयोगले मैले उनका ‘अ गर्ल्स स्टोरी’ र ‘द इअर्स’ भन्ने दुई पुस्तक आठ–दस महिनाअघि डिजिटल कपीमा पढेको थिएँ । कतिपय पुस्तक पढुन्जेल रमाइलो हुन्छ, तर पढेर सकेको केही समयपछि विस्मृतिमा जान थाल्छन् । यानी अर्नोका लेखाइ भने पढिसकेपछि समय बित्दै जाँदा पनि मनमा घुमी नै रहेका थिए ।
भदौको तेस्रो साता मात्रै उनको ‘सिम्पल प्यासन’ भन्ने ‘किताब’ हात पर्‍यो । सानो आकारको यो पुस्तक ठूला किताबहरूको बीचमा पर्‍यो भने टेबलमै हराउनेजस्तो छ । तर, यो फुच्चे जत्रोसुकै आकारका ठूलाहरूसँग पनि भिड्न नडराउने खालको छ । त्यति मात्रै होइन, उनका अरू पुस्तिकाले जस्तै यसले पनि अहिलेसम्म स्थापित भएका साहित्यका जुन विधाहरू छन्, ती विधागत मानकलाई जिस्क्याएको छ, भत्काएको छ । यानीका किताबहरूलाई के भनेर परिभाषित गर्ने ? समालोचकलाई नै हम्मे परिरहेको छ । न ती संस्मरण मात्रै हुन् न कोरा आख्यान । न ती निबन्ध मात्रै हुन् न समकालीन समाजका इतिहास मात्रै । न ती समाजशास्त्र मात्रै हुन् न एथ्नोग्राफी मात्रै । कि ती आफूले बाँचेर आएको समाजको इतिहाससँग वर्तमानबाट गरेका संवादहरू हुन् ? नोबेल कमिटीले गत वर्ष पुरस्कार अर्पण गर्दै भनेको थियो– यो सम्मान उनको त्यो लेखकीय साहसका लागि हो, जसले जेजे हो त्यसलाई त्यसरी नै खोतल्न सक्छ । उनको त्यो निर्भय कला, जसले व्यक्तिका अन्तरमनमा लुकेर बसेका सुदूर अतीतका स्मृतिहरूलाई भुल्नुपर्छ भन्ने समाजको सदाबहार आह्वानलाई चुनौती दिन्छ । सानो छँदा बाँचेका लज्जा र हीनताका भोगाइहरू, त्यतिबेलाका ती निर्दोष प्राप्ति र अप्राप्तिहरू, कौमार्य बचाउँदा र भंग हुँदाका त्यो समयका अर्थ र अनर्थहरू, प्रेमका सुवास र तिरस्कृत कामनाहरू, परिवारका पूर्णता र अभावहरू, फ्रान्सेली समाजमा जरा गाडेका वर्ग र विभेदहरू– यी सबैबीच जति जे भयो भयो, अब त्यो सबै बिर्सनु भन्ने व्यक्तिका निजी स्मृतिविरुद्ध समाजमा जुन अलिखित ऐक्यबद्धता छ, यानीले त्यसलाई लेखेर भत्काइदिएकी छन् । त्यसरी भत्काउँदा उनले साहित्यका चलिआएका विधाका मानक पनि भत्काउनुपरेको छ । उनले भनेकी छन्– यदि यसरी नलेख्ने हो भने लेख्नै किन पर्‍यो ? के काम छ लेख्नुको ?
जुन विषय उनले जसरी लेख्न चाहेकी थिइन् त्यसो गर्दा लेखाइहरूका लागि यानीले एउटा विधा नै आफ्नै जन्माएकी छन्, जुन विधालाई मैले हार्ड कपीमा फेला पारेको ‘सिम्पल प्यासन’ को पछाडिको कभरमा ‘अटो–फिक्सन’ भनिएको रहेछ– संस्मरणात्मक आख्यान । तर, उनका लेखाइबारे यो ‘अटो–फिक्सन’ भनेर ‘कोइन’ गरिएका साढे एक शब्दले धेरै बताउन सक्दैनन् । उनका आख्यानकी पात्र उनी आफैं हुन् । बाल्यकालकी आफू, यौवनकालकी आफू, सम्बन्धविच्छेद भएकी आफू, बच्चाकी आमा भइसकेकी आफू । तर, यहाँनेर सम्झिनुपर्ने के छ भने ती आफूभित्रका अनेक आफूहरूलाई उनले खुल्लमखुला पात्र बनाएर आख्यान लेखेकी छन्, अटोबायोग्राफी होइन । सन् १९५८ को फ्रान्सको एउटा गाउँमा १८ वर्षकी केटीले आफूलाई छाडेको केटाबारे त्यतिबेला गरेका अनुभूतिका स्मृतिलाई ६० वर्षपछि सम्झँदा जेजति सम्झिइएको छ, त्यसलाई कति पत्याउने ? कति नपत्याउने ? उनले आफैं प्रश्न गरेकी छन् । त्यतिबेलाकी ‘त्यो केटी’ ले किन त्यसरी सोचेकी थिई होला ? अहिले मैले ‘त्यो केटी’ बारे जे सम्झेकी छु के त्यो साँच्चै त्यही होला ? कि मेरा स्मृति भित्रभित्र पुनर्लिखित भइसकेका छन् ? ७८ वर्ष उमेर पुगेकी ‘बूढी’ ले (अ गर्ल्स स्टोरी २०१६ मा प्रकाशित भएको हो) किन ती कथाहरू लेख्नैपर्ने भएको होला ? उनका ‘कथाहरू’ पढेपछि मेरो मनमा तिनीहरू घुमिरहनुको कारण यिनै प्रश्नहरूमा छन् ।
अक्सर सबै मानिसले अनुभव गर्ने जुन ‘युनिभर्सल’ एकान्तपन छ, जिन्दगीमा जहाँ जे गरे पनि मनमा सधैं केही नपुगेको हो भन्ने जुन खालिपनको भाव उत्पन्न हुने जीवनको स्थिति छ, यानीका लेखाइले हामीलाई फकाईफुलाई तिनै दार्शनिक कारणहरूमा घोत्लिन पुर्‍याउँछन् । घुमाईफिराई आफ्नै जीवनका कथामार्फत उनले भनेकी छन्, ‘जसले आफ्नो विगत बिर्सन खोज्छ त्यो जति एक्लो यो संसारमा कोही हुँदैन ।’ जीवनमा हामी सबै ‘असल’ मानिस हुनुपर्छ भन्ने दबाब छ । आफू असल मानिस हुँ भनेर आफैंलाई भुलाउने चक्करमा आफूले अनुभव गरेका लज्जालाई आफैंसँग लुकाउनुपरेको छ । आफ्ना विगतका अनुभूतिलाई आफैंले नयाँ नयाँ कथा बनाएर, खासमा भएको यस्तो हो भनेर आफैंसँग आफ्नो इतिहासको झूटो पुनर्लेखन गरिरहनुपरेको छ । निरन्तरको यस क्रममा मानिस आफैंसँग टाढिएको छ, एक्लिएको छ ।
मानिस असल हुन जरुरी छैन भन्नुको अर्थ खराब हुनु भनेको होइन । यो भनेको केवल असल हुने चक्करमा आफैंसँग आफ्नो आधिकारिक ‘सेल्फ’ नगुमाउनु भनेको हो । आफू आफूसँग जस्तो हो त्यस्तो हुन नसकेर, आफैंले आफ्नैबारे कथाहरू बनाएर आफैंलाई गफ लगाउन थालियो भने त्यो मान्छे अस्तित्ववादी दार्शनिकहरूले भन्नेजस्तो ‘र्स्ट्यान्जर’ र ‘आउटसाइडर’ हुन्छ भन्ने अर्नोको अड्डी छ । यद्यपि उनले ‘समाज सुधार्ने’ उद्देश्यका लागि लेखेको दाबी गरेकी छैनन्, न त अरूलाई उपदेश दिन । उनले लेखेको आफ्नै लागि हो, जुन धेरैका लागि भइदिएको छ । उनका लेखाइ यति धेरैका लागि भइदिएका छन् कि कसैले त उनी कतै मार्क्सवादी झुकावकी त होइनन् पनि भनेका छन् । किनकि एउटी युवती ‘गलत’ वर्गमा जन्मिनुका कारण भोगेका निजी विरोधाभासलाई उनले यसरी लेखेकी छन् कि, त्यहाँनेर उनी आफ्नो वर्गका अनगिन्ती युवतीका कथालाई प्रतिनिधित्व गर्न पुग्छिन् । अर्थ–सामाजिक वर्गहरूले मानिसका मनोविज्ञानलाई कसरी प्रभावित पारेका हुन्छन् भन्ने उनका अनुभव त निजी हुँदाहुँदै सामूहिक पनि हुन् । यिनै लेखकीय विशेषताका लागि कतिपयले उनका पुस्तकलाई समाजशास्त्रसँग नजिक, फ्रान्सेली वर्गीय समाजको इतिहास र ‘एथ्नोग्राफी’ भनेका छन् ।
कसैका निजी अनुभूति, ती अनुभूतिका स्मृति कति शक्तिशाली रूपमा एउटा पुस्ता, समाज र वर्गका स्मृति हुन सक्छन् भन्ने सुन्दर उदाहरण हुन् उनका लेखाइ । ‘अ गर्ल्स स्टोरी’ की १८ वर्षकी केटी नायिका, जसलाई अहिलेकी पाको उमेरकी महिलाले, एक्काइसौं शताब्दीको चस्माबाट चित्रण गरिरहेकी छन् । फ्रान्सेली अस्तित्ववादी लेखकहरूले संसारभर बौद्धिक जगजगी मच्चाएका ती दशकमा भर्खर कलेज जान खोजेकी फ्रान्सकै एक गाउँकी केटीले ती दार्शनिकबारे के सोच्थिन् ? सिमन द बुवाको चर्चित ‘द सेकन्ड सेक्स’ किताबले संसारको इतिहासलाई महिलाको हातले पुनर्लेखन गर्न सिकाएको सन् १९६० को दशकमा, गैरकानुनी गर्भपतन गराउनुपरेकी कलेजमा दर्शनशास्त्र पढ्ने एउटी निम्नवर्गीय युवतीको मनोदशा कस्तो हुन्थ्यो ? ती कथा उनको एक्लो भएर पनि धेरैको हो ।
सन् २००८ मा प्रकाशित ‘द इअर्स’ लाई धेरैले उनको ‘मास्टरपिस’ ठान्छन् । दोस्रो विश्वयुद्धको भयानकतापछिका फ्रान्सेली समाजका छ दशकका अन्तरद्वन्द्वलाई सूक्ष्म पृष्ठभूमि बनाएर उनले जीवनका साठी वर्षमाथि यस किताबमार्फत पोखेकी छन् । उनको ‘सिम्पल प्यासन’ पनि आफैंमा विचित्रको छ । जति नै कला साहित्यमा उच्च संस्कृति भएको मानिए पनि फ्रान्सेली समाजमा एउटी महिला लेखिकाले (वा पुरुषले नै) के लेख्न हुन्छ ? के हुँदैन ? त्यो पर्खाल उनले ढालेकी छन् । कामदार बस्तीमा चिया पसल (क्याफे) चलाउनेकी एक्ली सन्तान, आफ्नो वर्ग उत्थान गर्दै बुर्जुवा घरमा श्रीमती बनेर सरेपछि, कसरी आफ्नो ‘सेल्फ’ लाई उत्खनन गर्न आफ्नैबारे लेख्नुबाहेकको उनीसँग उपाय थिएन भन्ने यस पुस्तकले सशक्त रूपमा देखाएको छ । त्यसो त आफूलाई जसरी चित्रण गरेकी थिइन् अर्नोले, त्यो पढेर उनकी आमा उनीसँग बेखुस थिइन् । अर्नोकी आफ्नै छोरीले उनका डायरी च्यातेकी थिइन् । आमाका कथाहरू बाहिर आए आफूलाई समाजले के भन्ने होला भनेर छोरी डराएकी थिइन् । तर, आफूलाई मन लागेको शैलीमा लेख्दा परिवारबाट परित्यक्त हुने मूल्य उनलाई ठूलो लागेन ।
‘सिम्पल प्यासन’ वास्तविक जीवनमै घटेको एक साधारण आवेगको कथा हो, जहाँ उनको सम्पूर्ण संसार नै एक विवाहित विदेशीसँगको ‘अनैतिक’ आशक्तिमा असाधारण रूपमा खुम्चिएको हुन्छ । यस पुस्तिकालाई धेरैले प्रशंसा गरेको केका लागि छ भने कला र सिर्जनाले के नैतिक हो ? के होइन ? त्यो हेर्ने काम गर्दैन । कला मानवीय अनुभूतिका त्यस्ता जरासम्म पुग्न सक्छ, जहाँ समकालीन समयको ‘स्पिरिट’ पुग्न डराएको हुन्छ । आम मानिस त समाजमा जुन ‘ट्रेन्ड’ हरू स्थापित छन् तिनैबाट ‘कन्डिसन्ड’ भएर समाजले के सोच्न पाइन्छ ? के पाइँदैन ? तोकेको मापदण्डभित्र सोच्दै बस्ने न हुन् । आम मानिसले त मनमा आएका कुनै भावना चलनचल्तीको नियममा अनैतिक मानिन्छन् भने, आफैंसँग आफ्नै सोचाइलाई
आफ्ना होइनन् भनेर अस्वीकार गर्ने न हो । अस्वीकार गरे पनि मनमा आएका सोचाइ त घटिसकेका घटनाका सत्य हुन् । अर्नोले आफ्ना प्यासनका हदहरूबारे काल्पनिकी मिसाएर वर्णन गर्दा कतै पनि लज्जा अनुभव गरेकी छैनन् । कसैलाई स्पष्टीकरण दिन जरुरी ठानेकी छैनन् । जीवनको कुनै मोडमा मानिस भावनाको कुन हदसम्म जान सक्छ, आफूलाई आवेगमा कतिसम्म डुबाउन सक्छ भन्ने अनुभूति उनले जुन सुन्दर ढंगले भनेकी छन्, त्यसले ‘अश्लील’ भनिने सोचाइका मानकलाई अमान्य ठानेको छ । एउटा लेखक आफूभित्र कतिसम्म पस्न सक्दोरहेछ भनेर यो पातलो पुस्तिकाले नीतिपालक लेखकहरूलाई जिस्क्याएको छ ।
जीवन बाँच्ने क्रममा हामीले आफूभित्र थुप्रै पात्र जन्माएका हुन्छौं । दशकौं पहिले आफूले बाँचेको कुनै समयक्रम सम्झँदा के त्यो मै थिएँ र ? भन्ने लाग्न सक्छ । आफ्ना कथामार्फत यानीले प्रत्येक पाठकका विगतका अनगिन्ती ‘म’ पात्रहरूसँग वर्तमानबाट अन्तर्संवाद गर्ने आख्यानात्मक ठाउँ बनाइदिन्छिन् । उनका लेखाइले एउटा अन्तरवस्तु दोहोर्‍याएर भनिरहेझैं लाग्छ– जीवनमा बिर्सनुपर्ने केही छैन । आफ्नो विगतबारे सम्झन डराउनुपर्ने केही छैन ।
सचेत मनले आफ्नो विगत बिर्सन खोजे पनि हाम्रो शरीरले केही बिर्सनेवाला छैन । तीस वर्षपहिलेको कुनै एक घटनामा त्यतिबेला ठ्याक्कै के सोचिएको थियो अहिले सचेत मनले पूरै सम्झिँदैन होला । तर, यो शरीरमा तीस–चालीस ट्रिलियन जति सेलहरू छन्, खर्बौं खर्ब सेलहरूमा कति ‘डिजिटल डाटा’ छ त्यो न विज्ञान, न अध्यात्म, धेरै कसैलाई थाहा छैन । ती खर्बौं सेलका डाटाहरूको के–के काम होला, थोरैबाहेक विज्ञानलाई केही मेसोमेलो छैन । मस्तिष्क त शरीरको एउटा अंग न हो । त्यही मस्तिष्कमा शरीरले भोगेका ती अनगिन्ती अनुभवको के प्रभाव हुन्छ, त्यो आफैंमा अथाह छ । मानिसले गर्न सक्ने भनेको बाँच्ने क्रममा आफूभित्र जस्ताजस्ता पात्र बनेका छन्, तिनलाई नडराई, नलजाई स्वीकार गर्ने हो । हो, अर्नोले जस्तो सबैले खुलस्त लेख्न नसक्लान् तैपनि आफैंसँग बोल्न नडराए पुगिहाल्यो । जीवन भनेको आफैंसँग गरिने संवाद न हो । आफूबाहेक अरूसँग बोल्ने भनेको त सोचविचार पुर्‍याएर, के बोलौं, कति भनौं भनेर अड्कलेर मात्र न हो । अर्नोका लेखाई धेरै नअड्कलीकन लेखिएका छन् । त्यसैले नै उनका किताब पढिसकेपछि ती लामो समयसम्म मनमा घुमिरहने होलान् ।
यहाँ चर्चा गरिएका उनका किताब मैले एकै समयमा नभई केही महिनाको अन्तरालमा पढेको थिएँ । पहिले
पढ्दा–पढ्दै र पछि ती कथाहरू मनमा आइरहँदा, म अवचेतन मनमा बेलाबेला आफ्नो सानोको घरको आँगनबाट पारि क्षितिजको डाँडामा प्रत्येक साँझ गएर डुब्ने सूर्यलाई सम्झेको हुँदोरहेछु । धेरै पटक त्यस्तो भएपछि मलाई लाग्यो, सायद मेरो त्यो स्मृतिले मलाई केही भन्न खोजिरहेको छ । त्यसपछि मैले आठ वर्षअघिको घटना सम्झें ।
त्यतिबेलासम्म पढ्ने र काम गर्ने सिलसिलामा पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी संसारका केही देशमा म पुगिसकेको थिएँ । त्यस हिसाबमा, आफूले सानोमा देखेको संसारभन्दा बाहिर कस्ता संसारहरू हुँदा रहेछन् भनेर धेरथोर देखिसकेको थिएँ । तैपनि खास देख्न मन लागेको संसार त देखेकै छैन भन्ने लागिरहेको थियो । त्यस्तो लागिरहेको समयमा एक दिन अचानक मनमा आयो, सानो छँदा बुबाले भनेका कथाका ती सबै संसार त पारि घाम अस्ताउने डाँडाको उतापट्टि पो थिए, जहाँ म अहिलेसम्म पुगेकै छैन । त्यो परको डाँडामा पुगेर, ती अस्ताएका घाम पुग्ने संसार कस्तो रहेछ भन्ने नदेखेसम्म संसारमा जहाँजहाँ पुगे पनि के नै देखेको भयो र ? अनि त्यस वर्षको दसैंमा घर गएका बेला भान्जी, साथी र छोरालाई साथ लगाएर खिलिङ–देउराली भनिने त्यो डाँडामा पुगेरै छाडें । देउरालीमा मन्दिर रहेछ । ठीक मध्याह्नको समयमा हामी पुग्दा, मन्दिरको केही तल थोरै समथर चौरमा तीस–चालीस जनाको हूल थियो । तीसौं वर्षदेखि मनमा कल्पेको डाँडामा त्यस्तो दृश्य देख्दा सुरुमा त के हुन लागेको हो बुझ्नै नसकेर ‘सर्रियल’ अनुभव भयो । अलि नजिक पुगेपछि थाहा भयो, वर्षमा एकचोटि हुने दसैंको नवमी पूजा भर्खर सकिएको रहेछ । म भने ती मानिसभन्दा पनि त्यो डाँडाभन्दा उताको संसार कस्तो रहेछ, हेर्न आतुर थिएँ । डाँडाबाट उतापट्टि– जहाँ मेरो आँगनबाट हेर्दा घाम लुक्न गएका हुन्थे– टाढाटाढासम्म अरू डाँडाहरू नै रहेछन् । डाँडाबाहेक केही रहेनछन् । मन्दिरका पल्ला डाँडामा घर भएका फुच्चेहरूले अहिले कल्पिरहेका होलान्, उनीहरूको आँगनबाट परको सूर्य अस्ताउने डाँडामुनिको संसार कस्तो होला ?
यानी अर्नोका पुस्तकले हामीलाई आफ्ना–आफ्ना स्मृतिका तिनै डाँडाहरूमा पुर्‍याउँछन् । त्यतिका वर्षपछि, सानोमा घाम अस्ताएको डाँडापारिको संसार हेर्न जानैपर्ने बाध्यात्मक रहर ममा किन भएको थियो होला ? हुन सक्छ विगतका मेरा सबै अनुत्तरित प्रश्नलाई मैले प्रत्येक साँझ त्यही डाँडापारि लैजाँदै लुकाएर राखेको थिएँ, जुन वयस्क जीवनमा बिस्तारै बाहिर आउन खोजिरहेका थिए ।
यस वर्ष उनका किताब पढेपछि मैले आफूलाई जेजसरी बुझेको छु भन्थें कहिलेकाहीँ त्यो नै फेरिन लागेझैं लाग्छ । सानो छँदाका ती हजार स्मृति, जो मसँग छन्, तिनलाई फर्केर हेर्दा मैले आफैंसँग अन्याय गरेको त छैन भन्ने लाग्छ । म ती स्मृतिलाई जस्ता छन् त्यसरी सम्झन नसकी तिनलाई अहिलेको ‘व्यक्तित्व’ लाई पायक पर्ने गरी पुनर्लेखन गरेर आफैंलाई झुक्याउने कोसिस त गरिरहेको छैन ? र, त्यसो गर्दा मैले बाँच्ने जीवन ‘अथेन्टिक’ नभइरहेको त छैन ?
वर्तमान त अस्तित्वमै छैन । एउटा वाक्य सोच्न सुरु गरेर सकुन्जेलसम्म त्यो वाक्यको सुरुवात नै विगत भइसकेको हुन्छ । भविष्य भन्ने त एक अवधारणा मात्रै न हो, कहिल्यै देखिएकै छैन । यदि कुनै यथार्थ छ भने त्यो केवल विगत हो । किनकि त्यो थियो । त्यसैले सायद जसले विगत बिर्सन खोज्छ, ऊ आफैंबाट टाढिँदै जान्छ । यानी अर्नोले ‘अ गर्ल्स स्टोरी’ यस्तै यस्तै भावमा टुंग्याएकी छन्– जीवनमा जतिबेला घटना घटेका हुन्छन्, त्यो समयलाई तिनै घटनाले नै ढाकेका हुन्छन् । त्यहाँ घटनाका अर्थहरू लाग्न पाउँदैनन् । ती घटनाका अनौठा अर्थहरू वर्षौंपछि लाग्छन्, लागिरहन्छन् ।

Page 10
कोसेली

त्यसपछि देवशमशेर श्रीहीन बने

- पुरुषोत्तमशमशेर जबरा

 

दरबारिया षड्यन्त्रमा महिलाको माध्यमबाट श्री ३ जंगबहादुरले उन्नति गरे, तर महिलाकै कारण श्री ३ देवशमशेरको पतन भयो । यद्यपि देवशमशेरलाई प्रेम गर्ने गुलवफाजस्ती आदर्श प्रेमिका पनि थिई, तर महिलाप्रतिको आसक्ति र उनीहरूमाथिको निर्लज्ज व्यवहारले उनलाई पतनको खाल्डोमा जाक्यो ।
त्यही दरबार हो, जहाँ उनीमाथि ‘कू’ हुँदा रुने र चाँडोभन्दा चाँडो देवलाई हटाएर दरबारको इज्जत जोगाउन चाहने दुवैथरी महिला देखा परेका थिए । देवशमशेरको महिलाप्रतिको मोह र रक्सीप्रतिको लगाव उल्लेख्य थियो । उनको कमजोरी भनेकै दरबारका महिला र नानीहरू थिए । उनी राजदरबार गएर पूरा रात त्यहीँ बिताउँथे । वास्तवमा दरबारमा रात बिताउनेगरी बस्न मिल्दैनथ्यो, तर देवशमशेर महिलाकै निम्ति रातैभर राजदरबारमा रहन्थे । दरबारका तालिमे केटीहरूलाई देवशमशेरको पञ्जाबाट उम्किन बडो मुस्किल पर्थ्यो । जसोतसो उनको पञ्जाबाट उम्किने तालिमे नानीहरू देवको निर्लज्ज व्यवहारबारे राजमाता ललितराजेश्वरीसँग सिकायत गर्थे । दरबारभित्रका तालिमे नानीहरूप्रतिको श्री ३ देवशमशेरको आसक्तिले विधवा राजमाता ललितराजेश्वरी क्रुद्ध भएकी थिइन् । उनी देवशमशेरलाई कुनै पनि हालतमा शक्तिबाट च्युत गरी दरबारको भद्रता जोगाउन चाहन्थिन् । दरबारभित्र आएर मनपरी गर्न खोज्ने प्रधानमन्त्रीलाई मौका परे कसले त्यसै छोड्छ र ? देवशमशेर राजदरबारका तालिमे नानीहरूमाथि मात्रै आँखा गाड्ने होइनन्, आफ्नै राणा परिवारका मानिसका भित्रेनीहरूमाथि पनि आँखा गाड्थे ।
देवशमशेर श्री ३ महाराज भइसकेपछिको कुरा हो । एक दिन वीरशमशेरका जेठा छोरा जनरल गेहेन्द्रशमशेरलाई उनकी मनपर्दी भित्रेनी जलाफ नानीलाई आफ्नो शयनगारमा सेवाका लागि पठाउन आदेश दिए । यसबाट गेहेन्द्रशमशेरले आफूमाथि घोर बेइज्जती भएको महसुस गरे । उनले मनमनै देवसँग बदला जसरी पनि लिने अठोट गरे ।
समयसँग साह्रै राम्रोसँग खेल्न जान्ने चन्द्रशमशेरले यो थाहा पाए र गेहेन्द्रसँग गोप्य रूपमा सम्पर्क स्थापित गरे । गेहेन्द्रमाथि देवबाट भएको बेइज्जतीको बदला लिने कुरा बताएर गेहेन्द्रको मन जिते । त्यतिबेला गेहेन्द्रशमशेर शक्तिशाली राणाहरूमध्ये एक थिए । गेहेन्द्रजस्तो शक्तिशाली मानिस आफ्नो पक्षमा पाएर चन्द्रशमशेरले एक पटक सन्तोषको सास फेरे । त्यसपछि श्री ३ देवशमशेरका अङ्गरक्षक जनरल फत्तेशमशेरलाई पनि उनीहरूले आफ्नो पक्षमा पारे । पहिले त फत्तेशमशेरले उनीहरूलाई सघाउन अस्वीकार गरे र आफू अङ्गरक्षक हुन्जेल रक्तपात गर्ने अनुमति नदिने कुरा कडा शब्दमा बताएका थिए । अन्त्यमा रक्तविहीन ढंगले देवलाई हटाउने सहमति भएपछि फत्ते उनीहरूसँग मिले । त्यसपछि षड्यन्त्रकारीहरूले श्री ३ महाराजको बिजुली गारतका कमान्डर ले.क. इन्द्रबहादुर शाहीलाई पनि आफूमा मिलाए । षड्यन्त्रकारीहरूको बीचमा भएको आपसी सहमतिअनुसार गेहेन्द्रशमशेरले महाराज देवशमशेरलाई सेतो दरबारको एउटा कोठाको बन्डामा दुई दाजुभाइबीच विवाद भएकाले समाधान गरिदिन अनुरोध गरे । चन्द्रशमशेरले पनि सेतो दरबारमा गएर जाँच गरी विवादको समाधान गर्न अनुरोध गरे । अंगरक्षक फत्तेशमशेरले पनि महाराजलाई यस्तै सल्लाह दिए । तर, देवलाई यो षड्यन्त्रबारे पटक्कै ज्ञान थिएन । अन्त्यमा उनले सेतो दरबार जाने कुरा स्वीकार गरे ।
२७ जुन १९०१ का दिन दरबार हाइस्कुलमा विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम थियो । र, त्यो कार्यक्रममा आफूले पुरस्कार वितरण गर्न स्वीकृति दिएकाले कार्यक्रममा सामेल भए । समारोह सकिएपछि दरबारमा फर्कन लागेका देवलाई अंगरक्षकले सेतो दरबारको विवादबारे सम्झाएका हुनाले उनी त्यतै लागे । अपरान्हको ४.३० बजे महाराज देवशमशेरलगायतका व्यक्तिहरू सेतो दरबार पुगे । उनले महाराजलाई विवाद भएको ठाउँमा सवारी हुन अनुरोध गरे । अंगरक्षक फत्तेशमशेरले महाराजका गार्डहरूलाई आँगनमै बसिरहनू भनी आदेश दिए । केवल कमान्डिङ जनरल र कमान्डिङ अफिसर मात्रै देवशमशेरको पछि लागे । गेहेन्द्रले तथाकथित विवादास्पद भनिएको कोठातर्फ डोर्‍याए । सिनियर क.जे. भीमशमशेर कम्मरमा तरबार भिरेर बसेका थिए । जब सबै सो कोठाभित्र प्रवेश गरे, चन्द्रशमशेरले आदेशात्मक स्वरमा भने, ‘तिमीहरू सबै के हेरिरहेका छौ ?’ तुरुन्तै जनरल गेहेन्द्र र कर्णेल दुर्गाशमशेरले महाराजलाई समातेर निरस्त्र पारे । तत्क्षण भीमशमशेरले ले.क. इन्द्रबहादुर शाहीलाई पक्रिए भने हतियारहरू खोसी लिएर निरस्त्र पारे । देवशमशेरलाई कैद गरेझैं गरे । उनका भाइ चन्द्रशमशेरले उनीअघि गएर महाराजाधिराज पृथ्वी वीरविक्रम शाहको आदेशले अपदस्थ गरिएको बताए । त्यसपछि देवशमशेरलाई उनकै पटुका फुकाएर उनको हात पछाडि बाँधियो, एउटा सानो कोठामा राखियो । यसरी नेपालका शक्तिशाली महाराज श्रीहीन बने ।
देवशमशेर विलासिता मन पराउँथे । उनले अनावश्यक तडक–भडकमा राज्यकोष समाप्त पार्ने काम गरेका थिए । उनीअघिका श्री ३ महाराजहरूले एकपटक मात्रै काठमाडौंमा सिन्दूर–जात्रा गरेका थिए, तर उनले काठमाडौंबाहेक ललितपुर, भक्तपुरमा पनि यस्ता रंगीन समारोहहरूको आयोजना गरेका थिए । उनले कास्की र लमजुङका महाराजको पगरी लगाएर धुमधामसँग सजाएको हात्तीमा चढी पछिपछि अधिकृत र सेनाका जवानलाई लगाएर यी समारोहमा रोव/रवाफ प्रदर्शन गरेका थिए । उनले समारोहको समाप्तिपछि सार्वजनिक रूपमा जुवा फुकुवा गराएका थिए । उनको एक सय चौध दिनको शासन अवधिमा अधिकांश दिन जुवामा बितेका थिए । जनताले देवशमशेरको यो अनावश्यक प्रदर्शनलाई मन पराएका थिएनन् ।
महिलाका असाध्यै सोखिन देवशमशेरले एउटा दरबारिया महिलाहरूको भव्य समारोहको आयोजना पनि गरे । सो समारोहमा राणा र शाह परिवारका महिलाहरूले भाग लिएका थिए । यस्ता समारोहको आयोजना गरेर राष्ट्रिय कोषको अनगिन्ती रकम सक्ने काम गरे । सन् १९०१ मा देवशमशेरबाट आयोजना गरिएको सो महिला समारोहलाई देवशमशेरकी महारानी कृष्णकुमारीले नेतृत्व दिएकी थिइन् ।
(राणा र राणाकालमाथि लेखिएको पुरुषोत्तमशमशेर जबराको प्रकाशोन्मुख किताब ‘जंगबहादुर र राणाकालीन दर्पण’ बाट)

कोसेली

'नेतृत्वपंक्तिमा कलाबोध र कलाप्रेमको खडेरी छ’

- कान्तिपुर संवाददाता

 साढे दुई दशक विश्वविद्यालयमा गणितशास्त्र पढाएका र आधा दर्जन प्राज्ञिक पुस्तक लेखेका सन्तोषमान मास्केले कला–इतिहाससम्बन्धी किताब लेखेका छन्– ‘मास्केवंश’, पुस्तककै सेरोफेरोमा प्राध्यापक मास्केसाग गुरुङ सुशान्तले गरेको कुराकानी :


लामो समय मैले विश्वविद्यालयमा गणित अध्यापन गरेँ, अनुसन्धान गरेँ र गराएँ पनि । तर, मेरो बुबा चन्द्रमान सिंह मास्के प्रसिद्ध कलाकार भएका कारण मलाई कलाप्रति चासो हुनु स्वाभाविक नै थियो । पारिवारिक स्तरमै कलाकारहरूको आउजाउ भइरहने र बुबाको असाध्यै निकट रहने अवसर पाएका कारण म नेपाली चित्रकलाका साथै अरू कलाबारे पनि धेरथोर जिज्ञासु रहेँ । घरमा स्वदेशी तथा विदेशी कलाकारहरू आउँदा बुबा भन्ने गर्नुहुन्थ्यो, ‘आज तिमी बाहिर नजाऊ है, पाहुनाहरू आउँदै छन् ।’ ती कलाप्रेमी पाहुना र बुबाको सान्निध्यबाट मलाई के अनुभूति भयो भने कला क्षेत्र निकै महत्त्वपूर्ण र गम्भीर रहेछ । यद्यपि, कला र कलाको गाम्भीर्यबारे बोध भए पनि म कलामा लागिनँ । चित्रकला, मास्केवंश र कुलायनी परम्पराबारे भने म रुचिपूर्वक अध्ययन गरिरहन्थेँ । तर, किताबै लेख्छु भन्ने अठोट पालेको थिइनँ । केही वर्षअघि मेरा मित्र प्राध्यापक रामकुमार पाण्डे र संस्कृतिविद् सत्यमोहन जोशीले मेरा बुबा चन्द्रमान मास्केका बारेमा मैले केही न केही लेख्नुपर्‍यो भन्ने आग्रह गर्नुभएको थियो । उहाँहरूको प्रस्ताव मनासिब लागेपछि सन्दर्भसामग्री जुटाउने क्रममा मलाई लाग्यो कि बुबाको जीवनीभन्दा अघि ‘मास्केवंश’ लेख्नु उपयुक्त होला । आफूले अध्यापन गर्ने विषयमा केही किताब लेखिसकेको मलाई यो किताब लेख्न भने १० वर्ष लाग्यो ।
हामी आफ्नो नामसँगै वंश, कुल या खलक जोडेर परिचय त दिन्छौँ । तर, दुःखको कुरा– आफ्नो वंशको इतिहास केही बताउन सक्दैनौँ । आफू उभिएको जमिन र समयको महत्त्व बुझ्न पनि आफ्नो इतिहास जान्नु जरुरी छ । यही किताब लेख्ने सन्दर्भमा मास्केवंश, हाम्रो कुलायनी परम्परा र चन्द्रमान मास्केका कलाकारिताबारे थप अध्ययन गर्ने मौका पाएँ । यही अध्ययनकै कारण मैले यस किताबमा दक्षिण एसियाली सभ्यता, नेवार सभ्यता, मास्केवंश, मध्यकालिक मास्केवंश, कुलायनी परम्परा, मास्केहरूको धार्मिक आस्था र कीर्तिदेखि शाहकालिक मास्के भारदारबारे लेख्ने मेसो मिल्यो । बजारमा मारामार बिक्री होला भनेर मैले यो किताब लेखेको होइन, मैले आफ्नो कर्तव्यबोध गरेर प्रकाशित गरेको हुँ । लाग्छ, अहिलेभन्दा ५० वर्षपछि यस पुस्तकको महत्त्व अझ बढेर जानेछ ।
इतिहासले भन्छ, विसं १३८१ म दिल्लीका सुल्तान गयासुद्दीन तुगलकको आक्रमणबाट सिम्रोनगढ ध्वस्त भएपछि राजा हरसिंहदेव १३८२ मा नेपालतिर लागे । सपरिवार हिँडेका राजासँग त्रिभुवनसिंह नामका एक भारदार पनि नेपाल आएका थिए । हामी उनै भारदारका सन्तान रहेछौँ । त्यसपछिका ३/४ वर्षको हाम्रो इतिहास अझै पनि खोजीको विषय रहेको छ । मास्केवंशले नेपाली समाजको कला–संस्कृतिमा ठूलो योगदान पुर्‍याएका कारण त्यस योगदानको कदर गर्न पनि इतिहासलाई लिपिबद्ध गर्नु आफ्नो कर्तव्य सम्झेर यो किताब लेखेको हुँ । मैले सभ्यताको संक्षिप्त इतिहासबाट यस किताबको उठान गरेको छु । अरूभन्दा नेवाः सभ्यता अहिलेसम्म कमबेसी जोगिएर आएको देखिन्छ । तर, हाम्रो सभ्यता जोगाउने संस्कृतिभित्रको कुलायनी परम्परा र वंशको इतिहासलाई राम्ररी अभिलिखित गर्न सकिएन भने भोलि निकै अबेर
हुन सक्छ । दुःखलाग्दो कुरा के भने हामी संस्कृतिमा निकै धनी भएर पनि आफ्नो संस्कृतिको अध्ययनमा विदेशी इतिहासकार र संस्कृतिकर्मीको दाँजो साह्रै कमजोर छौँ । आफैँलाई प्रश्न गरौँ– सगर्व नेपाल मण्डलको कुरा गरे पनि यहाँको संस्कृति संरक्षणमा हामी सबै गम्भीर छौँ त ? भक्तपुरको सन्दर्भमा ‘जर्मन प्रोजेक्ट’ को समीक्षा गर्नुपर्ने होला ।
सांस्कृतिक–धार्मिक दृष्टिकोणले हेर्दा नेवार समुदायभित्र फरक–फरक स्वरूप र शैली भए पनि एकअर्कामा मिलेर बसेका छन् । नेपाल मण्डलको विहारमा प्रवेश गर्दा प्यागोडा शैलीका मन्दिर भेटिन्छ भने प्यागोडा शैलीका भवनसँगै चैतेहरू ठडिएका हुन्छन् । यस्ता दृश्यले प्रमाणित गर्छन् कि नेवाः समुदायमा बौद्धमार्गी र शैवमार्गीहरूबीच अन्योन्याश्रित सम्बन्ध छ । विहार होस् या मन्दिर, यहाँ नेवार समुदायभित्र परम्परागत गुठीद्वारा सञ्चालन गरिएको हुन्छ । कुलायनी परम्परामा अन्तर्निहित सामूहिक भावनाले गर्दा पनि अहिलेसम्म नेवा सभ्यता धानिरहेको होला । कुलायनी परम्परालाई जोगाउने गुठीबाट हामीले संस्कृति संरक्षणबारे धेरै पाठ सिक्नुपर्ने हो । तर, पछिल्लो समय आधुनिकीकरणका कारण कतिपय मौलिक संस्कृतिहरू जोगाउन मुस्किल परिरहेको देखिन्छ । सबैभन्दा खुसीको पाटो यो छ कि नयाँ पुस्ताका युवाले हाम्रा बाजाहरू बजाउन अग्रसरता देखाइरहेका छन् ।
इतिहासदेखि नै नेवारहरूले कलामा योगदान गरेको देखिन्छ । मध्यकालमा वज्राचार्य खलकले पौभा चित्र बनाउँथे । नेपाली चित्रकारितामा मेरो बुवाको विशिष्ट देन छ भनेर सम्झिन पाउँदा पनि गर्व लाग्छ । मेरो बुबा सानो छँदा रुने बेलामा मेरो हजुरबाले भुइँमा कमेरो, गोल या खरीले चराका चित्र बनाएर फकाउने–फुलाउने गर्नुहुन्थ्यो रे । बालमस्तिष्कमा बनेको चित्रप्रतिको प्रभावकै कारण दरबार स्कुलमा पढ्दाताका पनि बुबा नियमित गृहकार्य गर्नुभन्दा चित्र बनाउनमा तल्लीन हुनुहुन्थ्यो रे । लगाव र साधनाकै कारण उहाँले कला क्षेत्रमा ठूलो योगदान गर्नुभयो । र, स्थापित पनि हुनुभयो । म बुबासँग निकै निकट थिएँ । उहाँको कला साधनालाई मैले नजिकबाट महसुस गर्न पाएँ । र, कलालाई निकै सम्मानपूर्वक ग्रहण पनि गरेँ । तर, उहाँ स्थापित कलाकार भइसकेपछि पनि हामीलाई चित्रकलामा लाग्न उत्प्रेरित गर्नुभएन । अहिले यस्सो बुझ्दा के पाएँ भने परम्परागत हिसाबले मात्रै चित्रकलाको उन्नयन नहुने र नेपालमा राज्यस्तरको संस्थागत प्राज्ञिक अध्ययन कमजोर रहेको यथार्थ बुझेर नै हामीलाई बुबाले कलातिर लाग्न जोड गर्नुभएन, सायद ।
समकालीन यथार्थवादी कलामा मेरो बुबा चन्द्रमान मास्केको जुन योगदान छ, त्यो साँचो अर्थमा अतुलनीय नै छ । मेरो बुबा भएकै कारण म पूर्वाग्रही भएको पनि हुन सक्छु । तर, विदेशी कला–मर्मज्ञहरूले कलाकार चन्द्रमान मास्केलाई ‘कला इतिहासमा नयाँ युगको प्रवर्तक’ रूपमा व्याख्या गरिदिँदा खुसी लाग्छ ।
चित्रकारहरू र दरबारको सम्बन्ध त लामै देखिन्छ । तर, मेरो खोज–अनुसन्धानले के देखायो भने भीमशमशेरको पालादेखि हाम्रो खलकको दरबारियाहरूसँग राम्रै रहे पनि मेरो बुबाको कामबाट प्रभावित भएपछि जुद्धशमशेरले नै मास्केहरूलाई दरबारमा सहज पहुँच दिएका हुन् । दरबारले मेरो बुबालाई काम दिइसकेपछि राजा त्रिभुवनको गद्दी बैठकको ‘पोट्रेट’ बनाउनुभयो । त्यतिबेलासम्म जीवित राजाको ‘पोट्रेट’ नभएको बुझिन्छ । कुनै तस्बिर हेरेर नबनाई ‘लाइभ स्टडी’ को आधारमा कोरिएको उक्त ‘पोट्रेट’ ‘फाइनल’ हुन दुई वर्ष लागेको देखिन्छ । यही ‘पोट्रेट’ को चर्चापछि नै चन्द्रमान मास्केलाई दरबारिया चित्रकारको परिचय मिलेको थियो । तर, मेरो बुबाले आफू र आफ्नो पारिवारिक स्वार्थका लागि कुनै वैयक्तिक सिफारिस गरेको जानकारी छैन ।
तर, उहाँको कलाकारितालाई भविष्यसम्म जोगाएर लैजानका लागि राज्यले कुनै पहलकदमी लिएन । कलाकार चन्द्रमान मास्केका कलाहरू यति धेरै छन् कि मलाई अभिलेखीकरण गरेर राख्नसमेत धौधौ परिरहेको छ । ‘हात धुने दिवस’ समेत मनाइने यस मुलुकमा सिङ्गो नेपाल चिनाउने एउटा बलियो विधा कलाचाहिँ बेवास्तामा परेको छ ।
मनमा प्रश्न उठ्छ– ‘कला दिवस’ खोइ ? कलाका दृष्टिले ‘खुला विश्वविद्यालय’ जस्तो रहेको नेपाल मण्डलका कलालाई संरक्षण गर्न राज्यले उदासीनता प्रदर्शन गर्नु उदेकलाग्दो दृश्य हो । देशका प्रतिष्ठित व्यक्तित्व र नेतृत्वमा कलाबोध, सौन्दर्यमूल्य र कलाप्रेमको खडेरी देखिन्छ । अतः कलाकार भएरै बाँच्न नेपालमा निकै कठिन छ । यस्तो दुरवस्थाबीच पनि कोही चित्रकार निरन्तर लागिपरिरहेको छ भने त्यस्तो कलाकारलाई तपस्वी भने हुन्छ ।

Page 11
कोसेली

पाठक पर्खिरहेका काव्यिक पर्खाल

- तारानाथ सापकोटा


पुरानो पोखरी/भ्यागुतो हाम फाल्छ/छप्ल्याङ्ग
धेरैअघि हाइकु कवितासँग परिचय हुँदा सबैभन्दा मन परेको प्रसिद्ध जापानी कवि मात्सुओ बासोको यो हाइकु आज पनि उत्तिकै ताजा र प्रिय छ ।
आकाश धुम्मिएर दिउँसै गोधूलि साँझझैं अँध्यारो देखिएको कुनै दिन । बिनाकाम नेदरल्यान्ड्सको पश्चिमी किनाराको आम्स्टर्डामबाट नजिकै पर्ने लाइडन सहरका मध्ययुगीन गल्लीहरूमा हिँडिरहेको बेला अचानक एउटा घरको पर्खालमा केही जापानी अक्षरमुनितिर लेखिएको बासोको नाममा आँखा परेका थिए । लाइडन विश्वविद्यालयनजिकैको कुनै सयौं वर्ष पुरानो युरोपेली कला चेतले भरिएको घरको पर्खालमा त्यो नाम देखेर अनायास पाइला रोकिएका थिए । ती जापानी अक्षरमा के अर्थ
थियो ? एक किसिमको बेचैनी जाग्यो । जापानी लिपिमै लेखिएको बासोको त्यो सानो कवितासँग अकस्मात् भेटिँदा जापानी भाषामा पोख्त मानिसबाहेक अरूले केही बुझ्न सक्दैन, तर त्यो नामसँग परिचय भएको मानिसले अवश्य सोच्नेछ– यो नाम किन त्यो सुन्दर पर्खालमा कोरिएको छ !
लाइडन सहरमा घरका पर्खालहरूलाई क्यानभास बनाएर संस्कृत, जापानी, उर्दू, रुसी, ग्रिक, अंग्रेजी, स्पेनिस, डच आदि भाषामा यस्ता एक सय बीस कविता कोरिएका रहेछन् सुन्दर क्यालिग्राफीमा । यसरी पर्खालमा कोरिएका कविता र कविबारे यथेष्ट जानकारी कविता परियोजनाको सूत्रधार टेखेन बिल्ड फाउन्डेसनको वेबपेजमा राखिएको छ । त्यही वेबपेजमा बासोको उक्त हाइकुको अंग्रेजी र डच अनुवाद पढ्न सकिन्छ । बासोको त्यक्त हाइकुको भावानुवादले भन्छ–
अशान्त समुद्र/सेडो टापुतर्फको विस्तार/ आकाशगंगा
संयोगवश आकाशगंगाबारेको यस कविता कोरिएको घरधनी पनि खगोलशास्त्री रहेछन् । त्यसै गल्लीको अर्को घरको पर्खालमा उसैगरी विलियम सेक्सपियरलाई उनका सोनेट्सका पंक्तिहरूमा जीवित देखेपछि हृदयको बेचैनी कौतूहल बनिदियो । त्यही कौतूहलले संसारभरिबाट छानिएका भाषा र लिपिमा लेखिएका एउटा लहरो उजागर गर्‍यो । कहिलेकाहीँ कविता लेख्न चुनिएको पर्खाल र कविताको मेल पनि असाध्यै रमाइलो भइदिन्छ । जस्तो सेक्सपियरले मित्रताको नोस्टाल्जियाबारे लेखेको कविता स्टुडेन्ट हाउसको पर्खालमा कोरिएको छ, जहाँबाट हजारौं विद्यार्थीले मित्रताको नवीन परिभाषा लिएर गएका छन्, जसले जीवनका कतिपय घुम्तीमा नोस्टाल्जिक बनाएका होलान् ।
बेन वालेनकाम्प र यान विलेम ब्राउन्स दुई कविताप्रेमी कलाकारले स्थापना गरेको टेखेन बिल्ड संस्था नै पर्खालमा कविता परियोजनाको प्रमुख सूत्रधार र सञ्चालक हो । कालान्तरमा कवितालाई माया गर्ने लाइडनका अरू मानिस यस परियोजनामा सहयोगी बनेर गाँसिए । यस काव्यिक परियोजना सन् १९९२ मा रुसी कवि मरिना स्वेताजेवाले लेखेको कवितासँगै सुरु भएको थियो । यो पहिलो कविता एउटा लामो काव्यिक यात्राको पहिलो पाइला थियो । टेखेन बिल्ड नामको निजी संस्थाले लाइडन विश्वविद्यालयको भाषा विज्ञान विभागसँग सहकार्य गर्दै अघि बढेको कविता परियोजना केही कविताहरू पर्खालमा लेख्ने उद्देश्यले सुरु गरिएको थियो र सन् २००५ मा कवि गार्सिया लोर्काको कविता लेखेपछि परियोजना पूरा भएको भनियो । तर, त्यो परियोजनाले धेरै आकर्षण र प्रेम पाएपछि लाइडन नगरपालिकाको पनि संलग्नतामा पुनः अघि बढाइयो । आज तीस वर्षको यो यात्रामा कोरिएका छन्– अठ्तीस भाषामा लेखिएका एक सय बीस कविता । ती कविता तिनका आफ्नै लिपिमा लिपिबद्ध हुनु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो लाइडन कविता परियोजनाको । एउटै गल्लीमा सर्वकालीन महान् कविहरू जोन किट्स र पाब्लो नेरुदालाई भेट्दा कवितालाई प्रेम गर्ने जोकोहीको मन आनन्दित भइदिन्छ । पाब्लो नेरुदाको प्रेम कविताका हरफहरूले संसारभरिका प्रेमिल हृदयलाई तरंगित पारिदिन्छन् । नेरुदाले प्रेमका लागि चुनेका एकएक शब्दले सँगसँगै क्रान्तिको आह्वान पनि गरेझैं लाग्छ । आखिर क्रान्तिको सुरुवात पनि प्रेमबाटै त हुन्छ । हरेकपटक सहरका गल्लीमा घुमिहिँड्दा नेरुदाको नाम लेखिएको पर्खालअघि उभिएर उनलाई काव्यिक श्रद्धाञ्जली अर्पण गर्छु म । जोन किट्सले मृत्युमाथि लेखेको अङ्ग्रेजी भाषाको कविताको भावार्थ कल्पना गर्छु । आफूले बाँचेको समय एउटा ठूलो प्रश्नजसरी उभिन्छ अघिल्तिर ।
हिँड्दा जाँदा जन्मेको माटोभन्दा धेरै टाढाको सहरका अपरिचित बाटोहरूमा आफ्नो भाषा, आफ्नै लिपिका अक्षरहरू कोरिएको भेट्दा हृदय खुसी भएको थियो, जब संस्कृत भाषाको कवितासँग जम्काभेट भएको थियो । एघारौं शताब्दीका भारतीय कवि बल्लणको कविता देवनागरी लिपिमै सुन्दर रङको क्यानभासमा कोरिएको पर्खाललाई निकैबेर हेरिबसेँ । एक किसिमको आत्मीयताको सुगन्ध हावामा मिसिएझैं आभास भयो । त्यसो त लाइडन सहर र लाइडन विश्वविद्यालय संस्कृत भाषामा रुचि हुनेका लागि नौलो नाम होइन । यहाँ संस्कृतलगायत संसारका अन्य पुराना भाषा–संस्कृतिको अध्ययन र अनुसन्धानमा तल्लीन विद्वान्हरूको कमी छैन ।
फुर्सदका बेला एक्लै–एक्लै यी प्राचीन गल्लीमा बिनाउद्देश्य हिँडिरहनुको सुन्दरता के भने यसरी हिँडेका बेला अनुपम उपहारहरू भेटिन्छन् । एक्लै यात्रा गर्दा सहर, सहरका गल्लीहरू, गल्लीका घरहरू, घरका टुँडालहरू, टुँडालमा खोपिएका मिहिन मूर्तिहरू, मूर्तिहरूमा कुँदिएका भावहरू सबै पढ्न पाइन्छ । यस्तो यात्रामा हृदयले सबै सदृश वस्तुहरूसँग मौन संवाद गरिरहेको हुन्छ । गल्लीमा सुनिएका मानिसका हल्लाहरूमा पनि लय भेटिएझैं लाग्छ । विभिन्न भाषाहरू एक ठाउँमा मिसिएर निर्मित आवाजको कोलाजमा जीवनको धुन भेटिन्छ । हरेक घरले आफ्नो समयको कथा सुनिदिने श्रोता पर्खिबसेको छ । जस्तो कि हजुरआमा नातिनातिनालाई सुनाउन परीका कथा बुनेर बस्छिन् ।
लाइडन सहर एउटा काव्यशालाजस्तो लाग्छ । पुरानो भईकन पनि भव्य, नवीन भईकन पनि जराहरू इतिहासको गर्तमा बलियो गरी गाडिएको यो सहरले समग्र नेदरल्यान्ड्सको इतिहासलाई एउटा खुला किताबजसरी पस्किरहेको छ । झन्डै पाँच शताब्दी लामो इतिहासमा नामी वैज्ञानिक, कलाकार, साहित्यकार, राष्ट्रप्रमुख, नेताहरू, समाजशास्त्री वा अरू धेरै अब्बल मानिसको निर्माणमा यहाँको विश्वविद्यालयले प्रस्तुत गरेको शिल्प स्तुतियोग्य छ । रेम्ब्रान्टजस्ता विख्यात कलाकारको जन्मभूमि पनि हो– लाइडन । उनका कलाकृति छातीमा सजाएर अत्यन्त मखलेल छ– लाइडन । नेदरल्यान्ड्सको साउथ हल्यान्ड प्रान्तमा अवस्थित लाइडन सहर सन् १५७५ मा स्थापित देशकै पुरानो लाइडन विश्वविद्यालय, शताब्दियौं पुराना कलात्मक घरहरू, विख्यात कलाकार रेम्ब्रान्टको जन्मस्थान, सन् १५९० मा लाइडन विश्वविद्यालयमा स्थापित बोटानिकल गार्डेन जहाँ टर्कीबाट पहिलो पटक ट्यलिपलाई पश्चिमी युरोपमा ल्याइएको थियो, आदिका लागि प्रख्यात छ ।
विज्ञानको सहर पनि भनिन्छ यसलाई । अब आफ्नो निधारमा ‘कविताको सहर’ चिनारीको सुन्दर टीका थपेको छ र सिंगै सहरलाई एउटा क्यानभास बनाएको छ । कवितालाई कविकै वास्तविक भाषा र लिपिमा लेखेर यो सहरले संसारभरिका कवि र कवितालाई अतुलनीय सुन्दर उपहार मात्रै दिएको छैन ती भाषा र लिपिलाई जीवन्त पनि बनाइरहेको छ । संसारका सबै भाषा र संस्कृतिहरू उत्तिकै महत्त्वपूर्ण छन् भनेर तिनीहरूप्रति सम्मान पनि प्रकट गरिरहेको छ । यो प्राचीन सहरका घरका पर्खालहरूमा बाँचिहरहेका कविहरू संसारभरिका मानिसहरूसँग संवाद गरिरहकेका छन् । विश्वप्रसिद्ध विश्वविद्यालयको सहर भएकोले संसारैभरका लेखक, कवि, वैज्ञानिक वा विद्वान् यहाँ अध्ययन वा घुम्ने उद्देश्यले आउँछन् । ती सबै मानिसका आफ्नै भाषा र संस्कृतिलाई लाइडन सहरमा जिउँदो राख्नु यस परियोजनाको प्रमुख उद्देश्य हो । पर्खालमा लेखिएको कविताले एउटा विराट कथा पनि भनिरहेको छ । रंगीन पर्खालले त्यसमा लेखिएको कविताको सर्जकको कथा भन्छ, उसले बाँचेको समयको डोरो समाउँदै त्यतिबेलाको इतिहासलाई पुनर्जीवन दिन्छ, भाषाको कथा भन्छ, त्यो भाषासँग जोडिएका मानिसहरूको कथा पनि भन्छ । यसरी त्यो कविता फगत् एउटा कविता बनेर बस्दैन त्यो धेरै कथा उपकथाहरूको सानो संग्रह बन्छ ।
न पार्टीहरू/न वक्तव्य, बयानहरू/न शब्दहरू/न कुनै कुराको अस्तित्व/बाँच या मर/जित या हार/यो एउटा अधिकार वा मात्र एउटा सत्य हो/सबै कुराहरू उस्तै रहन्छन्/श्रमबाहेक यहाँ कुनै कुराको अस्तित्व छैन/श्रम एक्लैले सारा जीवन खर्च गरिदिएपछि/जीवन भन्नु फगत श्रम नै त हो
लाइडन सहरमै सन् १९०९ मा जन्मेर जर्मनीमा सन् १९३४ मा दिवंगत कवि मारिनस भान डेर लबेहोफको गरिबी, भोक र श्रमको घनचक्करमा रुमल्लिएको जीवनमाथि लेखिएको एउटा शोककाव्य पढ्दा कविता अन्य विधाभन्दा सशक्त र कलात्मक रूपमा समयको इतिहासको बयान गर्न सक्षम हुन्छ भन्ने अनुभूति हुन्छ । जर्मनीको जेलमा रहँदा उनले लेखेको पत्रमा यस कविताको जिकिर गरिएको रहेछ । पर्खालमा भेटिएका कतिपय कविहरू मानिसका लागि नौला नाम हुन सक्छन्, तर कविता र कविलाई प्रेम गर्नेले जब नयाँ कविबारे थाहा पाउँछ, ऊ उक्त कविबारे श्रद्धायुक्त खोजी गर्छ । यस अर्थमा यो परियोजनाले संसारका कविहरूको क्षितिजलाई नयाँ आयाम दिएको छ । जस्तो कि आठौं शताब्दीका चिनियाँ कवि दु फुको कविता देखेँ– चिनियाँ भाषामा । यति प्राचीन कविको कविता भेटिएपछि टेखेन बिल्डको वेबपेजमा कविको जीवनमाथि लेखिएको संक्षिप्त परिचय पढेँ । उनको जीवनबारे भिडियो पनि राखिएको रहेछ । उनको ‘असाध्य नराम्रो’ शीर्षकको कविताको नेपाली भावानुवादले भन्छ ः
फूलहरू किन यति सारै झर्ने हतारमा हुन्छन् ?/बूढो हुँदै गएको आभास हुँदै छ, र अब म चाहान्छु वसन्त सुस्त बितोस्/धेरै नराम्रो लाग्छ, आनन्द र खुसीका पलहरू धीमा र कमजोर बन्दै गइरहेछन्/म जवान र बलियो हुँदा तिनीहरू बिलकुल यस्ता थिएनन् जस्ता अहिले छन्/मनलाई शान्त पार्नका लागि मसँग रक्सी मात्रै छ/कविताले भन्दा बढी मेरो मनोदशालाई व्यक्त गर्न सक्ने अर्को साधन छैन/ताओ कियानले मेरो मनमा के छ भन्ने बुझेका थिए/तर म उहाँभन्दा धेरै पछि जन्मिएँ
हृदयमा उच्च स्थान बनाएर बसेका कविहरूको कविता सहरका गल्लीहरूमा डुल्दाडुल्दै पढ्न पाउनु आफैंमा एउटा रोमाञ्चक कुरा लाग्दोरहेछ । मैले पढेका र हरदम सम्मानका साथ हृदयमा नाम खोपिएका कविहरू विलियम सेक्सपियर, बासो, ओक्टाभियो पाज, सफ्फो, पाब्लो नेरुदा, विस्लावा सिम्बोर्स्का, गार्सिया लोर्का आदि आफ्ना कालजयी शब्दसाथ मुस्कराइरहेका छन् लाइडन सहरका पर्खालहरूमा । टेखेन बिल्डको वेबपेजमा कविताहरू आधिकारिक भाषा र लिपिमै राखिएका छन् । त्यसका अलावा अंग्रजी अनुवाद, डच अनुवाद र कविताको वाचन पनि राखिएको छ । साथै केही कविताको सांकेतिक भाषामा पनि भिडियो अनुवाद गरिएका छन् ।
लाइडन कविता परियोजनासँग गाँसिएका रमाइला किस्सा पनि छन् । सबै कविता टेखेन बिल्डका संस्थापकहरू यान विलेम ब्राउन्स र बेन वालेनकाम्पले नै सहरभरि लेखेका हुन् । त्यसैले भनिन्छ, यी सबै कविता बुझ्ने र सबै लिपि पढ्न सक्ने यिनै दुई कलाकार मात्रै हुन् लाइडन सहरमा । पर्खालमा लेखिने कविता पनि यिनै दुई कलाकारले चयन गर्छन् । जब ब्राउन्स परियोजनाको पहिलो कविता लेखिरहेका थिए (जुन रुसी भाषाको थियो) छिमेकका एक भलादमीले झ्यालबाट कराउँदै भने– तिमीले गलत लेखेका छौ । ती भलादमी रुसी भाषामा पोख्त रहेछन् । गल्ती थाहा पाएपछि उक्त भित्तामा पुन रङ पोतियो र कविता लेखियो । वषौंपछि रङको बाहिरी पत्र पुरानो हुँदै गएपछि फिक्का भयो र पहिले लेखिएका अक्षरहरू हल्का देखिन थाले, तर त्यसलाई त्यतिकै छोडिएको छ ताकि मानिसहरू बुझुन्– कविताप्रतिको यो प्रेम कति पुरानो हो । संयोगवश त्यो कविता लेखिएको घरमा एउटा पुस्तक पसल छ । यो कविता पर्खालमा लेखेपछि त्यो बाटो भएर हिँड्ने रुसी पर्यटक धेरै प्रभावित भए । कालान्तरमा उक्त पुस्तक पसलको ख्याति पनि बढ्यो । धेरै रुसी पर्यटक त्यो किताब पसलमा आउन थाले । खुसी भएर पसलका साहुजीले पनि परिचयसहित पसलको ढोकामा झुन्ड्याइदिए कविको फोटो ।
एक दिक ब्राउन्स बासोको कविता पर्खालमा लेखिरहेका थिए, जापानी क्यालिग्राफीमा । त्यति नै बेला जापानी पर्यटकको एक समूह उक्त गल्लीबाट हिँडिरहेको थियो । पर्खालमा आफ्नै भाषामा आफ्ना महान् कविको कविता लेखिरहेको देखेर उनीहरू यति खुसी भए कि जापानीले निकैबेर शिर निहुराएर उनमाथि सम्मान प्रकट गरिरहे । जापान म्युजियम र लाइडन विश्वविद्यालयको होर्टस बोटानिकस नामको बोटानिकल गार्डेननजिकैको उक्त गल्लीबाट अनगिन्ती जापानी पर्यटक वा विद्यार्थी हिँड्दा भित्तामा आफ्ना कवि देखेर खुसी हन्छन् ।
लाइडन सहरको ‘पर्खालमा कविता परियोजना’ यही सहरमा मात्रै सीमित छैन । यसबारे धेरै देशका मिडियामा रिपोर्ताज प्रकाशित भएका छन् । अन्य देशका सहरले पनि लाइडनकै जसरी घरका पर्खालमा कविता लेख्न थालेका छन् । बुल्गेरियाको राजधानी सोफियाले लाइडनको कविता परियोजनाबाट प्रभावित भएरै सहरमा उस्तैगरी घरका पर्खालहरू कविताले रंगाउन थालेको छ । फ्रान्सको राजधानी पेरिसमा पनि केही घरका पर्खाल कविताले सजाइएको छ । जर्मनीका विभिन्न ठाउँमा यसैगरी घरका बेजान पर्खालमा कविता लेखिएको छ । सयौं पुरातात्त्विक महत्त्वका घरका भित्तामा आकर्षक रङ पोतेर त्यसमाथि उत्तिकै सुन्दर अक्षरहरूमा लेखिएका कविताले यहाँका बासिन्दा र पर्यटकमा अनेकन् भाव उत्पन्न गराउँछन् । धेरैले त्यो देखेर आफूलाई यो सहरले आत्मीयतासाथ स्वागत गरेको महसुस गर्छन् । केही दिनलाई घुम्न आउने पाहुना पनि आफ्नो भाषामा लेखिएको कविता पढेर यो सहरलाई आफ्नै ठान्छन् । ती सोच्छन्– यो सहरले उनीहरूको भाषालाई पहिचान दिएको छ ।
वास्तवमा लाइडन सहर शताब्दियौंदेखि संसारभरिका विद्वान्, लेखक र कलाकारको आकर्षणको केन्द्र त हो नै अझै कविता परियोजनाले संसारका धेरै भाषा बोल्ने मानिसलाई एउटै क्यानभासमा समेटेर लाइडनले सबैप्रतिको आदर र प्रेम प्रकट गरिरहेको छ । काव्यिक शृंगारले रंगिएका सुन्दर पर्खाललाई प्रेमपूर्वक हेर्दै निरुद्देश्य हिँड्नु पनि उत्तिकै काव्यिक लाग्छ र घरीघरी म यो काव्यिक यात्रा गरिरहन्छु ।

कोसेली

विवश बाँदर विज्ञहरू

- तारालाल श्रेष्ठ

 

गोंगबुमा बाँदरपीडित किसान भेला हुँदै छन् है’, हालैको एक बिहान एउटा म्यासेज आयो । नागरिक सरोकार अभियानकर्मी पनि बाँदरपीडित किसानसँग मिलेर संघर्ष गर्ने भन्दैथिए । माइतीघर मण्डला, शान्तिबाटिका पीडित आन्दोलनकारीले भरिभराउ छन् । बाँदरपीडित पनि काठमाडौं आउँदै रहेछन् । बाँदर बहसको विषयले मलाई ‘नोस्टेल्जिया’मा पुर्‍यायो ।

हेटौंडामा बाँदर पछ्याउँदा
२०५८ सालको कुरा हो । मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थें । एक अमेरिकी दिदीसँग मित्रता बढ्यो । बिहानदेखि साँझैसम्म त्रिवि वनविज्ञान अध्ययन केन्द्रको जंगलभित्र बाँदरको पछि लाग्दैमा बित्थ्यो उनको समय । बिदाका दिनमा म पनि अमेरिकी दिदीसँग वनविज्ञान जंगलभित्र बाँदरको पछि लाग्थें ।
बिहान उठेदेखि साँझ नसुतेसम्म बाँदरले के–कस्ता गतिविधि गर्छन् ? त्यो लेखाजोखा गर्न व्यस्त हुन्थिन् उनी । कति भाले, कति पोथी ? कति नाबालक बच्चाबच्ची ? कति गर्भवती ? कसले कुन दिन कुन बच्चा जन्माइन् ? त्यो बच्चा कति वर्ष, महिना र दिनको भयो ? कुन भाले बाँदर समूह नायक कहिलेदेखि बन्यो ? बाँदरको नेतृत्व लडाइँ कस्तो हुन्छ ? नायकलाई कसले प्रतिस्थापित गर्न खोज्दै छ ? उनीहरू बाँच्नका लागि कति संघर्ष गरिरहेका छन् ? मानव बस्तीमा पस्ने, बालीनाली नष्ट गरिदिने क्रममा मानवसँग द्वन्द्व बढ्दै जाँदाको परिणाम कस्तो देखिँदै छ ? विविध विषयमा उनी मलाई बाँदर अनुसन्धान अनुभव सुनाइरहन्थिन् । घाम उदाएदेखि नअस्ताएसम्म बाँदरकै पछि लागिरहन्थिन्, खाना पनि ब्यागमै बोकेर लैजान्थिन् । उनीसँग बाँदरबारे हामीलाई भन्नुपर्ने कुरा धेरै थियो । भन्थिन्, ‘बाँदरहरू वनको भन्दा मानिसकै खानेकुरा खान रुचाउँदै छन् । उनीहरूको जीवनशैली, आनीबानी, व्यवहार, प्रजननमै परिवर्तन आउँदै छ ।’ बाँदरले बिर्को खोलेर कोकाकोला खाइरहेको फोटो, भिडियो देखाउँथिन् । भन्थिन्, ‘यो निकै चिन्ताजनक विषय हो ।’
उनी भन्थिन्, ‘बाँदर–मानव द्वन्द्व घटाउन मानिसले बाँदरलाई खानेकुरा पटक्कै दिनुहुन्न । उनीहरूलाई उनीहरूकै जीवनशैलीमा फर्काइनुपर्छ । उनीहरूकै संसारमा उनीहरूले बाँच्न र मर्न पाउनुपर्छ । उनीहरू बाँदर हुन्, बाँदरहरूलाई बाँदरजस्तै छाडिदिऊँ ।’

काठमाडौंमा बाँदर बहस
हालैको एक दिन काठमाडौंमा बाँदरपीडित किसानहरू संलग्न बाँदर–बहस सुन्न साइकल हाँकेर हुइँकिएँ, गोंगबु । पीडितहरू नेपालको पहाडी गाउँबस्तीको सभ्यता नै सिध्याउने गरी बाँदर आतंक बढ्कोे कुरा गर्छन् । बाँदर आतंककै कारण कतिपय किसानले आत्महत्यासमेत गरेका रहेछन् । बाँदर खेद्दा अंगभंग भएका घटना कति हो कति ।
भेलामा सहभागी बाँदरपीडित सबै बाँदर विज्ञझैं देखिन्थे । एउटै बाँदरले एक घण्टामा ५० घोगासम्म मकै भाँच्दै हिँड्छ । बथान बाँदर बारीमा पसेपछि एक घण्टामै एक बिघा बाँकीको मकै भाँचेर सोत्तर पारिदिन सक्दोरहेछ । गाउँमा युवा छैनन्, महिला, केटाकेटी, ज्येष्ठ नागरिकलाई बाँदरले टेरपुच्छर लगाउँदैनन् । यताबाट खेदेर अर्को गाउँमा पुर्‍याउनु विकल्प होइन । बाँदर निर्यातको विषयमा पनि बहस भयो । बाँदर आतंक नरोक्ने हो भने हजारौं वर्षदेखिको नेपाली कृषि सभ्यता स्वाहा हुन सक्ने चिन्ता व्यक्त भयो । बाँदरबाट वार्षिक एक खर्ब नोक्सान हुँदै गरेको आँकडा पनि आयो । अझ बाँदरकै कारण गाउँबाटै विस्थापित, जग्गाजमिन बाझैं छाडिएका विषयलाई जोड्ने हो भने अर्को एक खर्बको नोक्सान थप हुन सक्ने अनुमान आयो । बाँदरबाट विस्थापितका कथाव्यथा कति हुन् कति !

विकल्प र विवशता
केही किसानले बाँदर विदेशमा बेच्ने कुरा पनि गर्दै थिए । श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्न खोज्दा व्यापक विरोध भएको थियो । चीनमा लगेर चिडियाखानामा राख्ने भन्दा पनि वातावरण संरक्षकले बाँदरको मासु खान वा प्रयोगशालामा परीक्षणका लागि प्रयोग हुन सक्ने भन्दै विरोध भयो । कृषिमन्त्रीबाटै घोषित श्रीलंकाबाट चीन बाँदर निर्यात रोकियो । नेपालमा पनि सन् २००४ मा अनुसन्धानका लागि २०० बाँदर अमेरिका निर्यात गर्न खोजिएको थियो । एउटा बाँदरलाई तीन सय डलर तिरेर किनिएको भनिन्थ्यो । सर्वोच्च अदालतमा बाँदर बिक्रीविरुद्ध सयौं हस्ताक्षरसहित रिट दायर भयो । बाँदरको विदेश निर्यात रोकियो । ती बाँदरलाई पाँच वर्षपछि जंगलमा छाडिएछ । अनुसन्धानकर्ताले समस्या समाधानभन्दा बुद्धिविलास बढी गरिरहेको आवाज सुनियो किसानबाट । कतिपय किसान बाँदर मार्नु, बन्ध्याकरण गर्नु र विदेशमा बेच्नु नै समाधानका उत्तम आधार हुन सक्छ भन्दै थिए ।
वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका (तेस्रो संशोधन, २०७५) मा राहतका आधार तोक्दा बाँदरबाट हुने मानवीय तथा खाद्यान्न बालीको क्षति सम्बोधन गरिएको देखिन्न । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, अर्ना, गोही, अजिंगर, गौरी गाईबाट मानवीय क्षति भए राहत पाइने, खाद्यान्न बाली र घरगोठमा हात्ती–गैंडाले क्षति पुर्‍याए मात्रै राहत दिने व्यवस्था छ । बाँदरबाट हुने क्षतिको परिकल्पनासमेत निर्देशिकामा उल्लेख छैन । निर्देशिकामा नसमेटिएका बाँदर र अन्य वन्यजन्तुले पुर्‍याएको क्षतिबारे अन्योल कायमै छ । मानव–जंगली जनावरबीच बढ्दो द्वन्द्व संरक्षणवादीहरूको प्रमुख चासोमा पर्छ । नेपालमा ४४ प्रतिशत भूभाग बाँदरको बासस्थानका लागि उत्तम भूमि मानिन्छ । त्यसमध्ये ८ प्रतिशतभन्दा कम भूमि मात्रै राष्ट्रिय निकुञ्जभित्र पर्दोरहेछ ।
नेपालका बस्तीहरू भएको १५ प्रतिशतभन्दा बढी भूभागमा बाँदर–मानव द्वन्द्व बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । द्वन्द्व व्यवस्थापन ठ्याक्कै यसरी भन्ने निष्कर्ष भने देखिन्न । हिजो बस्ती बसाउने बेला जंगल जोड्ने व्यवस्था भएन । वन खण्डीकरण गरियो । अब वन क्षेत्रलाई बिस्तारै बढाउँदै अर्को वन क्षेत्रसँग जोड्नुपर्छ भन्छन् विज्ञहरू । किसानलाई जंगली जनावरको महत्त्वबोध गराउनुपर्छ पनि भन्छन् । नेपालको वन क्षेत्र तीन दशकदेखि ०.६ प्रतिशतको दरले बढ्दै गइरहेको अध्ययनले देखाउँछ । तर, ती वन मौलिक रैथाने जंगल नभई त्यहाँ एकै प्रजातिका बिरुवा हुर्काइँदा जंगली जनावरमैत्री खानेकुरा वातावरण मिल्न सकेन । गाउँमा मानवबस्ती घट्दै गए । बाँदरले आफ्नो चहलपहल बढाउँदै लगे । अब वन क्षेत्र बढाउँदै बाँदरलाई मनपर्ने बोटबिरुवा हुर्काउने, बढाउने, वन खण्डीकरण घटाउने र जंगल नजिक बाँदरले कम मन पराउने बाली लगाउनुपर्छ भन्छन्, विज्ञहरू । पीडित किसान यस्ता सुझाव सुनेर थप आक्रोशित छन् । विज्ञ र किसानबीच पनि द्वन्द्व बढ्दो छ, जुन शुभसंकेत होइन ।

Page 12
कोसेली

'विश्वबजारमा हामी छौं, छैनौं पनि’

- कान्तिपुर संवाददाता

‘नुमाफुङ’ र ‘मुकुण्डो’ पछि एक दशक नेपाली फिल्म विश्व बजारमा किन पुगेन ? निर्देशक नवीन सुब्बासाग यसको जवाफ छ, ‘हामी निष्क्रिय भयौं । हामीलाई प्राप्त ज्ञान अपुग भयो र काम गर्न जुन सहयोग आवश्यक थियो, त्यो भएन ।’ उनी निर्देशित ‘खाङ्ग्री’ मार्फत पहिलो पटक नेपाली फिल्मले विश्वबजार देख्यो । अहिले बर्सेनि कुनै न कुनै फिल्म अन्तर्राष्ट्रिय बजार पुग्छ । नवीनको फिल्मसागै यसै वर्ष आधा दर्जन नेपाली फिल्म बाहिर जाादै छन् । अन्तर्राष्ट्रिय प्लाटफर्ममा नेपाली फिल्मको पहाुच, बजार व्यवस्थापन, चुनौती र उपलब्धिबारे सुब्बासाग रीना मोक्तानको वार्ता :
ॅगाउँ आएको बाटो’ को टोरोन्टो प्रिमियर कस्तो भयो ?
टोरोन्टोमा सकरात्मक प्रतिक्रिया पाइयो । नेपाली फिल्महरूले त्यो तहको मिडिया कभरेज विरलै पाउँछन् । त्यहाँ झन्डै दुई सयभन्दा बढी फिल्म, अढाई लाख दर्शक थिए । हाम्रो जस्तो देशको फिल्म छ/छैनजस्तो पनि हुँदो रहेछ । छैन भन्दा हाम्रो फिल्म छ, दुई पब्लिक स्क्रिनिङ नै हाउसफुल । तर, नेपाली फिल्म छ भनौं जुन अस्तित्व अन्य देशले पाइरहेको थियो, त्यो हेर्दा हामी त्यहाँ छैनौंजस्तो । कोरिया, हङकङ, उत्तर अमेरिकाका ठूल्ठूला एक्टर/निर्देशक थिए, हामी त हराउँदा रहेछौं । यो अनुभवले भन्छ– फेस्टिभलमा पनि वर्ग छुट्टिँदो रहेछ । स्टार शक्ति भएको, ठूला उद्योगका फिल्मलाई फरक–फरक हल थियो, रेड कार्पेट दिइन्थ्यो । हामीजस्तालाई सानो रेड कार्पेट र ‘फोटो कल’ । हामीले पनि नेपालका राम्रै कलाकारलाई लिएर गएका थियौं । तर, त्यहाँ हाम्रो उपस्थिति छैनजस्तो भयो ।
तपाईंको फिल्मले त्यहाँ राम्रै समीक्षा पायो ?
समीक्षकको मात्रै होइन, आम दर्शकको पनि समीक्षा लिइँदो रहेछ त्यहाँ । सकारात्मक समीक्षा पायौं हामीले । मलाई के अनुभव भयो भने हामी नेपाली दर्शकलाई लक्षित गरेर मात्रै बोलिरहेका हुँदारहेछौं । जस्तो, यस्तो प्लाटफर्ममा पुग्नेहरूले स्ट्यान्डिङ यति मिनेट, हाउसफुल दर्शक भन्ने गफ सुनाउँछन् । तर, साँचो अर्थमा हाम्रो फिल्म त्यहाँको भीडमा चिनिन्छ कि चिनिँदैन ? यो प्रश्नको सायद सकारात्मक जवाफ आउँदैन । पेरु, पोर्चुगिज, इटालियन समीक्षकले फिल्मलाई जसरी विभिन्न दृष्टिकोणबाट हेरेर लेखिदिए त्यसले नेपाली फिल्मको विषयमा छलफल हुने स्थिति सिर्जना भयो । अहिले नै त्यसको प्रतिफल भने नदेखिएला । अब समीक्षात्मक रूपले जर्नलहरूमा नेपाली फिल्ममाथि लेखिनुपर्छ । त्यसपछि मात्रै नेपाली फिल्मले बजार पाउँछ । चीनमा पनि त्यसरी नै अध्ययन भएको थियो । हाम्रा फिल्महरू त गइरहेका छन्, तर गम्भीर अध्येताले त्यो अध्ययन गरेको छैन । हामी एकदमै सुरुवातको चरणमा छौं । केही भारतीय समीक्षकले दक्षिण एसियामै नेपाली फिल्म अगाडि रहेको विषय सार्वजनिक रूपमै भनिदिए । भारतजस्तो ठूलो उद्योगले पनि यस्तो प्लाटफर्ममा उपस्थिति जनाउन नसकिरहेका बेला नेपालले समानान्तर रूपमा ठूल्ठूला महोत्सवमा फिल्म पठाउँदा ‘भिजिबिलिटी’ बढेको छ । तर, यत्तिले मात्रै पुग्दैन । अन्तर्राष्ट्रिय बजार व्यवस्थापनका लागि उद्योगका रूपमा नेपालीहरूले आफ्नो आवाज निर्माण गर्नुपर्छ, जसरी कोरिया, हङकङले गरे । हाम्रा घरेलु फिल्म कहाँ छन् ? यी सबै काम हुँदै गए हामीले बजार व्यवस्थापन, पहुँच र स्वीकार्यता पाउँछौं । त्यसैले यथार्थलाई आत्मसात् गर्नुपर्छ भन्ने लाग्छ ।
तपाईंकै फिल्म ॅखाङ्ग्र्री’ पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । त्यतिबेला तपाईंले देखेको सम्भावना र चुनौतीले अहिले कस्तो रूप लिएको छ ?
यो बीच धेरै परिवर्तन भएछ । राष्ट्रिय फिल्मको स्वरूप नै परिवर्तन भयो । पहिले निश्चित देशका निर्देशकले त्यहीँकै जनशक्ति/लगानी प्रयोग गरेर बनाइएका फिल्म राष्ट्रिय हुन्थे । यो पटक पाकिस्तानका केही फिल्म थिए, ती फिल्मलाई पाकिस्तानी मूलका क्यानिडियनले बनाएका थिए । अब देशलाई प्रतिनिधित्व गर्न निर्देशक नै नभए हुने भयो, विषयले काम पुग्ने भयो ।
अन्तर्राष्ट्रिय बजार घुमिसकेका फिल्मले घरेलु बजारमा भने अपेक्षित दर्शक पाउँदैनन् । यस्तो हुनुमा दर्शकको लिट्रेसी कम हो कि फिल्म प्रचारकै कमी ?
‘गाउँ आएको बाटो’ को दोस्रो स्क्रिनिङ हेर्न नेपालीहरू टन्नै उपस्थित थिए । पहिलो सोमा त्यहीँका स्थानीय (विदेशी) थिए । दोस्रोमा ३० प्रतिशत नेपाली थिए । गम्भीर किसिमका भन्दा पनि चमकधमकपूर्ण फिल्मका दर्शक टोरोन्टो महोत्सवमा बढी हुन्छ । क्यान्स र भेनिसमा गम्भीर फिल्मका दर्शक आउँछन् । नेपालको घरेलु बजारमा ‘कालो पोथी’ चल्यो, ‘सेतो सूर्य’ चलेन । त्यसपछि त टेस्ट हुनै बाँकी छ । अन्तर्राष्ट्रिय प्लाटफर्ममा पुगेका फिल्म चल्दैनन् भन्ने गलत भाष्य नेपालमा निर्माण भएको छ । ’कालो पोथी’ पछि फेस्टिभल घुम्ने कुन फिल्म आयो त ? ‘ऐना झ्यालको पुतली’ लाई दर्शक मिलेकै हो । घरेलु बजारमा यस्तो फिल्मको प्रचारप्रसार र बजार व्यवस्थापन–प्रकियाको तालमेल मिलाउन नसक्दा पनि जुन स्वीकार्यता चाहिने हो, त्यो भइरहेको छैन । ‘कमर्सियल’ फिल्मले गर्ने मार्केटिङ पच्छ्याउँदैमा दुई दिनमै लगानी उठाउँछ भन्ने हुँदैन । वितरण र प्रचारको प्रणाली फरक हुनुपर्छ । ग्लोबलमा पुगेका फिल्महरूले यस्तो विषयमा ध्यान पुर्‍याउनुपर्छ । अर्को कुरा, गम्भीर भनिएका फिल्मले विषय मात्रै गम्भीर उठाए कि फिल्म पनि बनाए ? प्रश्न आउँछ । फेरि महोत्सव घुमेको फिल्मले ‘पन्चलाइन’ फिल्मका दर्शक अपेक्षा गरेर पनि हुँदैन ।
अहिले डायस्पोरामा फिल्म देखाउनुमै फिल्मकर्मी दंग छन् । त्यसैलाई अन्तर्राष्ट्रिय बजारका रूपमा व्याख्या पनि गर्छन् । नेपाली फिल्मकर्मी यत्तिमै रमाए के हुन्छ ?
अहिले विदेश गएका नेपालीको दोस्रो पुस्ता तयार हुँदै छ । ती पुस्ता फिल्मदेखि अभिनयसम्म पढ्दै छन् । नेट्फ्लिक्समै काम गरिरहेका नेपाली पनि छन् । उनीहरूले फिल्म बनाउन थाले के हन्छ ? त्यो देखिन बाँकी नै छ । डायस्पोरालाई अन्तर्राष्ट्रिय बजार मान्नु आत्मरति मात्र हो, त्यसले कहीँ पुर्‍याउँदैन । ‘आरआरआर’ ले १६ करोड डलर व्यापार गर्‍यो । १३ करोड त उनीहरूको घरेलु बजारबाट उठेको हो, ३ करोड डायस्पोराबाट । डायस्पोराबाट हाम्रो कति उठ्छ ? एक/डेढ करोड ! तर, घरेलु बजार त बढिरहेको छ । हाम्रोजस्तो सानो फिल्म क्षेत्र पनि ग्लोबलमा पुग्नैपर्छ भन्ने चर्चा हालै भयो । हामी ग्लोबलमा पुगेनौं भने उनीहरू आउनेछन् । उनीहरू आए भने हामी लड्न सक्दैनौं । अहिले हामीलाई त्यस्तै भइरहेको छ । शाहरूख खानको ‘जवान’ आउँदा हामीले हाम्रो फिल्मको रिलिज मिति नै फेर्नुपर्ने हुन्छ । यस्तै ठूला फिल्म आउँछ कि आउँदै भनेर मात्रै फिल्मको प्रदर्शन मिति तय गर्नुपर्छ । ग्लोबलमा जाँदा हामी हाम्रो आवाज लिएर जान्छौं । त्यसपछि अरूसँग हाम्रो आवाज मिल्दैन । त्यस्तो हुँदा प्रतिस्पर्धात्मक क्षमता बढ्छ ।
यस वर्ष टोरोन्टोसँगै भेनिस, बुसानलगायत संसारका प्रतिष्ठित महोत्सवमा प्रवेश गर्ने नेपाली फिल्मको संख्या बढ्दै छ । अन्तर्राष्ट्रिय बजारमा पाएको यस्तो सुखद प्रवेश महोत्सवको प्रमुख प्रतिस्पर्धाहरूसम्म चाहिँ किन पुग्दैन ?
हाम्रोमा समस्या छ, अभिनय र लेखनमै । हामीसँग लेखक कति छन् ? अभिनयमा कलाकारको भर्स्ट्यालिटी के छ ? अहिले दयाहाङ राई धेरै प्लाटफर्ममा पुगिरहेका छन् । त्यसपछि सौगात मल्ल र विपिन कार्की फाट्टफुट्ट देखिइरहेका छन् । त्यसरी हेर्दा हामीले हाम्रो अभिनयको बजार पनि स्थापित गर्न सकिरहेका छैनौं । बजारले नेपालबाट ओहो ! गज्जबको अभिनय आयो भन्ने दिन आउनुपर्‍यो । हाम्रो अभिनय, फिल्ममेकिङ नै विश्वस्तरको छैन । नेपालबाट रुयुस्के हामागुची, हिरोकाजु कोरेइदाजस्तो निर्देशक आए भन्ने दिन आउनुपर्‍यो । हिजो हामीले बलिउडले जस्तै पाँच गीत/पाँच फाइट, जमिनदार भिलेन हुने फिल्म बनाइरहेका थियौं । अहिले त जाने पनि नजाने पनि आफ्नो कथा लेख्ने, आफ्नो उत्साह, उमंगलाई लिएर फिल्म बनाउने काम सुरु भएको छ । यो त ग्लोबल जानेहरूले पाएको एक्स्पोजरले ल्याएको रूपान्तरण हो । ग्लोबलमा गइरहेका फिल्मकर्मीको काम हेर्दा रूपान्तरण, परिवर्तन र गुणानात्मकता बढ्दै गएको देखिन्छ । अबको ५/७ वर्षमा हामी प्रमुख प्रतिस्पर्धातिर पनि अवश्य पुग्नेछौं ।
फिचरको दाँजोमा धेरै लघु फिल्म फेस्टिभल घुम्दै छ । यो फिचर फिल्म नेपाली बजारमै खुम्चिँदाको नतिजा हो या हामी मेकिङमै चुकिरहेका छौं ?
हाम्रो फिल्म क्षेत्रलाई म उद्योग भन्दिनँ । अहिले २/४ फिल्मकर्मी आफूलाई व्याावसायिक रूपले सफल भनिरहेका छन् । के आधारमा ? पैसा कमाएको हिसाबमा ? ‘प्रेमगीत’ जस्तै एउटा फिल्म भोलि भारतीय बजारमा चल्दियो भने घरेलु फिल्म स्वात्तै रूपान्तरण हुन्छ । त्यसपछि बलिउडजस्तै फिल्म बनाउन थालिन्छ । नेपाली फिल्म क्षेत्र सकिने खतरा त्यहाँनिर छ । कोरियाको फिल्म अहिले खत्तम भएको छ । नेट्फ्लिक्सले कोरियन ड्रामामा लगानी गर्न थाल्यो । अहिले कोरियन फिल्म संकटमा छ भनिन्छ । ग्लोबल जाने पक्षले हेर्दा भोलि नेट्फ्लिक्स, हुलु, मल्टिप्रोडक्सनमा फिल्म बनाउँदा पैसा त थुप्रो आउनेवाला छ । अहिले नै १५ करोडमा फिल्म बनाउन थालेका छौं हामीले । भोलि नेट्फ्लिक्सले उनीहरूलाई लगानी गर्न थाल्यो भने कतिमा गर्छ । त्यसबेला अर्को संकट आउँछ । घरेलु बजारमा सफल फिल्मकर्मीले कतिमा फिल्म बनाइरहेका छन् ? ग्लोबल जानेहरूले १२/१५ करोड भन्न थालेका छन् । भोलि उनीहरूकै एक्स्पोजर र कनेक्सन बढ्दै जाने हो । नेपालको नाममा कोही अमेरिकन निर्देशक ओस्कारमा गयो भने के हुन्छ ? त्यसैले अब हामीले हतारोमा हाम्रो आवाजलाई ग्लोबलमा बुलन्द बनाउनैपर्छ ।
यसरी फिल्महरू फेस्टिभल पुग्दा चलचित्र विकास बोर्डले बाटो खर्च दिन्छ । त्यो खर्च ॅहात्तीको मुखमा जिरो’ हुने गरेको चर्चा सुनिन्छ नि ?
उनीहरूका सर्तहरू छन् । अहिले हामी त्यो सर्तमा बाँधिएका छैनौं । त्यसैले विकास बोर्डको केही सहयोग छैन हामीलाई । लगानी गर्ने भएपछि सर्तहरू राख्ने नै भए । त्यता गहिरिएर अध्ययन गरेको छैन । तर, छिमेकी राष्ट्र भारतलाई नै हेर्ने हो भने पनि थाहा हुन्छ– कुनै फिल्मले अवार्ड जितेर आयो भने २५/३० लाख दिने गरिन्छ । हङकङ अभिनेता एन्डी लाओले टोरोन्टोमा स्‍पेसल ‘टिफ ट्रिब्युट अवार्ड’ जित्दा त्यहाँका प्रशासकीय अधिकृतले सुभकामना दिए । यहाँ त प्रधानमन्त्रीको कुरा छोडौं, विकास बोर्डलाई नै थाहा हुँदैन । हामीकहाँ त ग्लोबल जाने फिल्मले नेपाली फिल्म बिगारिरहेका छन् भन्ने पो बुझाइ छ त । जब कि यसले घरेलु फिल्मलाई विकास गर्न मद्दत गर्छ ।
हालै बलिउडको मसालेदार फिल्म ॅथ्यांक्स फोर कमिङ’ टिफको अफिसियल छनोटमा पर्‍यो । हाम्रा मूलधारका फिल्मले यस्तो उपलब्धि पाउन सक्छ कि सक्दैन ?
अहिले बुसानमा करण जोहरको फिल्म पनि छ । त्यो प्रकारको फिल्मको पनि दर्शक छ है भन्दै ठाउँ दिइरहेका छन् उनीहरूले । यस्तो पनि ठाउँ हुन्छ है भन्नेखाले आत्मविश्वास हाम्रा फिल्मकर्मीमा आउनुपर्‍यो ।
तपाईं पहिल्यैदेखि भन्नुहुन्थ्यो– अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको संख्या थपिँदै जाँदा त्यसले नेपाली फिल्म उद्योगको निर्माण गर्छ । तर, त्यो कसरी उद्योग बन्छ त ?
यस्तो प्लाटफर्ममा पुग्दा फिल्मकर्मीले धेरै एक्स्पोजर र अनुभव लिएर आउँछन् । त्यही अनुभवलाई अभ्यास गर्छन् । अहिले त विदेशी प्राविधिक ल्याउने चलन छ । विदेशी प्राविधिक आउँदा नेपालीले उनीहरूबाट सिक्ने भए । ज्ञान पनि हस्तान्तरण भइरहेको छ । यसरी नै रूपान्तरण ल्याउने हो ।
अन्तर्राष्ट्रिय बजारमा हाम्रो अस्तित्व बनाउन हामीले आफ्नो भाष्य निर्माण गर्नुपर्‍यो, होइन ?
फिल्मको आफ्नो भाष्य निर्माण हुनुपर्छ । हाम्रो ‘गाउँ आएको बाटो’ ले पनि विदेशीलाई भिन्न महसुस गरायो । हामीले प्रयास त गरिरहेकै छौं । तर, के हो त नेपाली फिल्म ? त्यो आउनै बाँकी छ । ‘गाउँ आएको बाटो’ सोसल रियलिज्ममै आधारित हो । दीपक रौनियारले अहिले थ्रिलर विधामा काम गरिरहेका छन् । अहिले कथा भन्ने शैलीमा पनि विविधता छ । यो बाहिरबाट प्राप्त ज्ञान हो । हरर, लभस्टोरी र कमेडी विधामा घरेलु फिल्म बनिरहेकै छन् । अहिले कमेडीको वर्चस्व छ । यसरी फरक विधामा काम गरिरहँदा हाम्रो आफ्नो विधा कसरी बन्छ त ? हाम्रो विधा त बरु माउन्टेनेरिङ/एडभेन्चर हुन सक्ला, गोर्खा र युद्ध होला । समुद्र भएको देशका फिल्ममा कहीँकतै समुद्रको वर्णन हुन्छ नै । तर, हामीकहाँ हिमालको वर्णन नै हुँदैन । हिमाल हेर्न जाऊँ कसैले भन्छ ? हिमाल हेर्न जाऊँ भन्ने कुरा सायद कसैले गर्छ भने त्यो त नेपाली फिल्मले नै गर्नुपर्छ । यसरी मिहिन रूपमा भाषा निर्माण गर्नुपर्छ । हाम्रोतिर ग्लोबल जानेहरू आफ्नै भाषा निर्माण गर्नुभन्दा फिल्ममा प्रयोग गर्दै आइरहेको आइडियालाई नै कसरी प्रयोग गर्ने भन्ने सोच्छन् । त्यो अर्को समस्या हो कि भन्ने लाग्छ । तर, हामीले स्थानीय भाष्यको फिल्म निर्माणमा काम गर्नुपर्छ ।

कोसेली

जो मुग्ध भयो, त्यो मुक्त भयो

- दिव्य देव

 

दिव्यजी, तपाईंका लागि एउटा नाटक लेख्दै छु,’ गएको वर्ष तिहारतिर फोनमा कुमार नगरकोटी बोल्नुभो । त्यतिबेला स्वयम्भूको डाँडामा थिएँ । त्यसको एक/डेढ महिनापछि ड्राफ्ट पूरा गर्नुभएछ । ‘ट्रान्जिट’ को स्क्रिप्ट छिट्टै हात पर्‍यो । डायलगसमेत याद गर्न थालें, तर बीचमा केही कारणले नाटक हुन सकेन । चाँडै स्क्रिप्ट हात परिसकेकाले मैले त्यो चरित्रलाई पहिल्यै बुझिसकेको थिएँ । मैले अहिलेसम्म रियलिस्टिक नाटकहरू गरें । ‘ट्रान्जिट’ मेरो पहिलो ‘एब्सर्ड’ नाटक हो । टेक्स्ट पढ्दा मैले जसरी पात्रलाई प्रस्तुत गर्छु भन्ने कल्पना गरेको थिएँ, अभ्यास गर्दा त्यो पूरै भत्काउनुपर्‍यो । निर्देशक युवराज घिमिरेले भत्काइदिनुभयो ।
चरित्रलाई रियलिस्टिक बनाउनुपर्छ भन्ने मेरो सोच ! चरित्र रियलिस्टिक शैलीमा नलेखिएकाले त्यसरी नजाऊँ भन्ने निर्देशकको सल्लाह ! त्यसपछि हामीले त्यो चरित्रलाई शारीरिक हाउभाउ (फिजिकालिटी) बाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने खोज्न थाल्यौं । अभ्यासकै क्रममा केही मुभमेन्टमा मैले मानवशास्त्रीलाई भेट्न थालें । उसको मानसिक अवस्थालाई मेरो शारीरिक हाउभाउले कसरी सम्मिलित गर्ने भन्दै अघि बढ्यौं । पछि रमाइलो हुन थाल्यो । रिहर्सलको अन्तिम अवस्थातिर स–साना कुराले ‘ए मानवशास्त्री यस्तो पो हो’ भन्ने भान हुँदै गयो । मञ्चनको ३/४ दिनअघि मात्रै त्यो चरित्र मेरो नियन्त्रणमा आयो । चरित्र निर्माणमा समय त लागेन तर, गाह्रोचाहिँ भयो ।
कलाकारका हिसाबले हेर्दा म ‘फिजिकालिटी’ मा कमजोर छु । ‘फिजिकालिटी’ को तालिम पहिल्यै पाएको भए अझै मज्जाले यो चरित्रलाई पस्किन सकिन्थ्यो भन्ने भइरह्यो । अहिले फर्केर हेर्दा मेरो काम अपुगै थियो भन्ने लाग्छ । आफूले पहिले गरेको चरित्रलाई एक हप्तापछि फर्केर हेर्दा बल्ल निद्राबाट ब्युँझेझैं लाग्छ । ह्या के गरिएछ ? भन्ने पनि । मानवशास्त्रीको चरित्र गरुन्जेल एक किसिमको ऊर्जा भइरह्यो । तर, नाटक सकिएपछि त्यो कुरालाई यसरी गर्न सकिन्थ्यो भन्ने अनुभूति भइरह्यो । सायद त्यो मेरो आत्मालोचनाको समय पनि होला । शारीरिक हाउभाउमार्फत चरित्रलाई कसरी गहिराइमा लैजान सकिन्छ भन्ने ‘ट्रान्जिट’ बाट बुझ्न पाएँ ।
रियलिस्टिकमा आफूभित्र चरित्रलाई खोज्नुपर्ने हुन्छ । सर्रियल चरित्रलाई एकदम जटिल बनाउँदा बेमेल पनि हुँदो रहेछ । त्यसैले त्यसमा शारीरिक हाउभाउ चाहिन्छ । ‘रियलिजम’ मा जे हो त्यस्तै गर्न खोज्छौं । तर, यस्तो विधाका नाटकका लागि त्यो चरित्रलाई कसरी रोचक/ठूलो बनाउन भन्ने हुन्छ । रियलिस्टिकमा कफी पिउँदा म वास्तविक बन्न खोज्छु होला । तर, ‘एब्सर्ड’ मा त्यसरी नभई अर्कै तरिकाले पिउनुपर्‍यो । अलि फरक खोज्न थालिँदो रहेछ, त्यसको सिर्जनात्मक मज्जा पनि अर्कै हुन्छ । रियलिस्टिक गर्दा एउटा फ्रेमवर्क प्रस्ट हुन्छ । तर, यसमा त्यस्तो फ्रेमवर्क थिएन, जता लैजाँदा पनि भयो । त्यस्तोबेला अलि धेरै गरें कि ? अलि बढी भयो कि ? भन्ने अन्योल हुनेरहेछ । शब्दले भनेको कुरालाई मेरो शारीरिक भाषा, स्वरले समाउनुपर्‍यो । त्यस्तो कार्य अजिब पनि देखिनुभएन, अनि रियलिस्टिक पनि । रिहर्सलताका यो चरित्रबारे जे–जे कुरा भेटियो, त्यसमा शतप्रतिशत विश्वास गरेर काम गर्नुको विकल्प थिएन । यदि मैले नै विश्वास गरिन भने दर्शकलाई पनि चरित्र लाउड लाग्न सक्थ्यो, त्यो चरित्रप्रति विश्वास पनि हुँदैनथ्यो । कतिपय समय लेखकले यो यसरी सोचेर लेखेको हो/होइन भन्ने शंका हुन्थ्यो । त्यहीमाथि नगरकोटीलाई बुझ्न गाह्रो । कुनै प्रस्तुतिमा बेजोड मज्जा आउँथ्यो, त्यतिबेलाको ऊर्जा नै बेग्लै हुन्थ्यो । कुनै प्रस्तुति ६० प्रतिशतले राम्रो हुन्थ्यो, ४० मा चित्त बुझ्दैनथ्यो । कुमार नगरकोटी त मस्तमगन हुनुहुन्थ्यो ।
‘एब्सर्ड’ शैलीलाई सम्पूर्णतामा बुझ्न सकिँदैन । लेखक/कलाकारले के प्रस्तुत गर्न खोजेको हो त्यसको ठ्याक्कै अर्थ पत्ता लाग्दैन । तर, त्यसलाई दर्शकले कसरी बुझे भन्ने महत्त्वपूर्ण हो । ‘एब्स्ट्र्याक’ कलालाई पनि पछाडिबाट हेर्दा अर्कै कुरा त्यसले दिइरहेको हुन्छ । अगाडिबाट हेर्दा त्यसभित्र कतै जीवनको टुक्रा भेटिइरहेको हुन्छ । यो नाटकमा पनि त्यस्तै तत्त्वहरू थिए । बीच्च–बीच्चमा दर्शक रोए । एक जनाले त ‘चिच्च्याइदिन मन लाग्यो’ भन्ने प्रतिक्रिया दिनुभयो, त्यो सुन्दा अचम्म लाग्यो । सायद, ‘एब्स्ट्र्याक’ को सौन्दर्य त्यो पनि हो । रियलिस्टिक नाटकको विषय सिधै दर्शकमा पुग्छ । तर, यस्तो नाटकमा दर्शक पनि आफैं खुला हुनुपर्छ, आफूलाई प्रभाव पार्न दिनुपर्छ । फेरि कला पनि त्यही हिसाबले मजबुत हुनुपर्‍यो । यदि कला शक्तिशाली छ भने त्यसभित्र जीवनका टुक्रा भेटिन्छ नै । खासमा त्यो कविताजस्तै हो । जीवनमा व्यक्तै गर्न नसकिएका कुरालाई कविताका २ लाइनले नै भनिदिन्छ । घण्टौं बखान गर्न नसकिने विषयलाई ‘एब्स्ट्र्याक’ शैलीले एकैक्षणमा अनुभव गराउन सक्छजस्तो लाग्छ । ‘ट्रान्जिट’ मा त्यो पक्ष कति देखियो/देखिएन भन्ने हो । तर, दर्शकलाई पारेको प्रभाव गज्जबकै थियो । धेरै जनाले यो नाटकलाई एक पटक हेर्दा बुझ्नुभएन । ‘मैले केही बुझिनँ, तर, धेरै बेरसम्म यो नाटकले हिर्काइरह्यो’ भन्ने प्रतिक्रिया आए ।
मेरी पत्नीले ‘ट्रान्जिट’ ६ चोटि हेरिन् । उनी मेरो नाटक ५/६ चोटि नै हेर्ने गर्छिन् । उनले दिने प्रतिक्रिया रमाइलो थियो । कुनै दिन नाटकलाई फरक पाएको प्रतिक्रिया दिन्थिन् । ‘चरित्रहरू उस्तै देख्थें । तर, अस्ति किन धेरै रमाइलो अनुभव भयो र आज किन ? भन्थिन्– त्यसमा मेरो मुडले पनि असर पार्दो रहेछ । मुड खराब हुँदा नाटकमा मज्जा नै नआएको कुरा सुनाउँथिन् । जब कि त्यो दिन मेरो प्रस्तुतिमध्येमै राम्रो काम हुन्थ्यो । हामी कुन मुडमा नाटक हेर्दै छौं भन्ने कुराले पनि प्रभाव पार्दो रहेछ । कलाकारको पनि त्यस्तै हुन्छ, त्यसैले एक/डेढ घण्टाअगावै हामी थिएटर पुगेर मानसिक रूपले तयार बस्छौं । ताकि बाहिरको मुडभित्र मञ्चमा नदेखियोस् । कस्ट्युम लगाएदेखि नै हामी त्यो चरित्रलाई अनुभव गरिसक्छौं । आर्मीले बर्दी लगाउँदा जे अनुभव गर्छ, हाम्रो पनि कस्ट्युममा त्यस्तो ऊर्जा हुन्छ । त्यो कस्ट्युमले चरित्रलाई फर्काउन मद्दत गर्छ । कुनै–कुनै दिनचाहिँ जति कोसिस गर्दा पनि राम्रो हुँदैन थियो । ‘ट्रान्जिट’ को पहिलो मञ्चनमा त्यस्तै भयो । त्यो दिन कसैको अनुहारै हेर्न मन नलाग्ने, मजस्तो झुर अभिनय गर्ने कोही छैन होला भन्ने अनुभव भयो । सायद नाटकको सौन्दर्य यो पनि होला । जीवन कुनै दिन गज्जब लाग्न सक्छ, कुनै दिन बेकार । नाटकले भावनालाई सन्तुलनमा राख्न सिकाउँछ । नाटक त साधनाजस्तै हो । यदि यो साधनामा लीन हुन सक्यौं भने सक्यौं । ग्ल्यामर/पैसाले बढी तान्यो भने अभिनय गर्नका लागि गरियो भन्ने मात्र हुन्छ ।
नाटकभित्रको रियलिस्टिक पाटोको अर्कै कथा छ । विगतमा काम गर्दै आएका अभिनेत्रीहरूलाई मानवशास्त्रीले गरेको दुर्व्यवहारका कुरालाई लेखकले बेजोड शैलीमा लेखिदिनुभएको छ । रंगमञ्चकै कति कथा यस्तो छन् नि । ती कुराहरूलाई सर्रियल ढंगबाट पनि त भन्न सकिन्छ भन्ने नगरकोटीले प्रस्तुत गर्नुभयो । उहाँले जसरी दृश्यको परिचय लेख्नुहुन्थ्यो, त्यो पढ्दा पनि मज्जा आउँथ्यो । प्रप्सलाई पनि चरित्रकै हिसाबले लेख्नुहुन्थ्यो । यो नाटकको लेखाइ नै अर्कै छ । लुगाकै व्याख्या मज्जाको थियो । सबै कुरालाई मिहिन रूपमा लेखिएको थियो, त्यसैले चरित्रलाई मैले अर्कै रूपले बुझेको थिएँ । तर, घिमिरे युवराजले त्यसलाई आफ्नै तरिकाले निर्देशन गर्नुभयो । अर्कै तरिकाले नाटक रोचक बन्यो । यो नाटकमाथि फिल्म बनाउने हो भने कुमार नगरकोटीले जसरी लेख्नुभएको छ त्यसरी नै निर्देशन गर्दा मज्जा आउँछ ।
सुरुमा ‘मानवशास्त्री’ लाई पढ्दा त नगरकोटीकै एउटा पर्सनालिटी हो यो चरित्र भन्ने लाग्यो । विगतमा काम गरेका अभिनेत्रीलाई टाइम ट्राभल गराउँदै
आफ्नो अघि उभ्याउन सक्ने चरित्र । झट्ट यो चरित्रलाई हेर्दा कुमार नगरकोटी बबाल हुन् कि मानवशास्त्री भन्ने लाग्छ । तर, कुमार नगरकोटीको क्षमतालाई हाम्रो पुस्ताले अझै सेलिब्रेट गर्नुपर्छ । उहाँ आफ्नो समयभन्दा अगाडिकै लेखक हुनुहुन्छ । ‘मानवशास्त्री’ कुमार नगरकोटीले मलाई सोचेर लेखेको चरित्र हो भन्दा एकदम गर्विलो अनुभव गर्छु । ‘जो मुग्ध भयो त्यो मुक्त भयो’ भन्ने खालका दर्शन मलाई निकै रोचक थिए । मानवशास्त्रीसँग आफूलाई दाँज्दा म पनि एकोहोरो हुन्छु, कलाप्रतिको मोहले ।
अहिले नाटक सकिइसकेपछि ६/७ पुस्तक पढिसकें । यतिन्जेलमा मानवशास्त्री मबाट कता–कता टाढिँदै छ । अन्य नाटक गर्दा पनि चरित्रको ह्याङ अलि छिटो उतार्ने गर्छु । यो चरित्रको प्रस्तुति अलिकति बेग्लै थियो । त्यसैले होला यो चरित्र भित्रै गढेर त बसेन, तर कहिलेकाहीँ स्कुटर चलाउँदै गर्दा लाग्छ– शिल्पीको मञ्चमा लगातार एक महिना भविष्यबाट आफ्नी प्रेमिकालाई वर्तमानमा भेटेको कल्पना गर्ने एक जना पात्र थियो, त्यो मानवशास्त्रीको के भयो होला ? अहिलेलाई हाइबरनेसनमा पुगिसक्यो होला, कुनै बेला फेरि मञ्चन भयो भने त्यो पात्र ब्युँतिन्छ होला ।