You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

राष्ट्रिय सभामा आकांक्षी व्यवस्थापन गर्न सत्ता गठबन्धनलाई कठिनाइ

रिक्त २० मध्ये निर्वाचन हुने १९ स्थानमै गठबन्धन हाबी हुन सक्ने भएकाले सत्ता सहयात्री दलमा पराजय भोगेकादेखि समानुपातिक सूचीमा परेका नेतासमेत आकांक्षी
- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि माघ ११ मा हुने निर्वाचनमा सत्ता गठबन्धनको मतभार सातवटै प्रदेशमा बलियो छ । रिक्त २० मध्ये निर्वाचन हुने १९ स्थानमै गठबन्धन हावी हुन सक्ने भएकाले सत्ता सहयात्री दलमा निर्वाचनमा पराजित भएकादेखि समानुपातिक सूचीमा परेका केन्द्रीयस्तरका नेतासमेत आकांक्षी छन् । उनीहरूको बढ्दो महत्त्वाकांक्षाले सत्ता गठबन्धनभित्रै सिट भागबन्डाको विषयलाई पेचिलो बनाउँदै लगेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनमा सिट भागबन्डामा औपचारिक छलफल नभएको बताए । तर, कांग्रेसले संघ, प्रदेश र स्थानीय सरकारमा उपस्थित संख्या अनुपातलाई हेरेर राष्ट्रिय सभामा दाबी राख्ने बताए । ‘मधेशबाहेक अरू ६ प्रदेशमा गठबन्धनभित्र हाम्रो मतभार ५० देखि ७५ प्रतिशतसम्म छ । केन्द्रको गठबन्धन, प्रदेश र स्थानीय तहमा कांग्रेसको उपस्थितिलाई केन्द्रमा राखेर हामीले सिटको दाबी गर्ने हो,’ उनले भने, ‘तर अहिलेसम्म यस विषयमा छलफल सुरु भइसकेको छैन ।’
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको अवधि फागुन २० बाट सकिँदै छ । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाका कारण रिक्त स्थान पूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदै छ । १९ जना निर्वाचनबाट र १ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका ९ सांसदको पदावधि सकिँदै छ । कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक स्वतन्त्र छन् । गठबन्धनले साझा उम्मेदवार खडा गरेमा राष्ट्रिय सभामा पहिलो स्थानमा रहेको एमालेको शक्ति कम हुनेछ । एमालेका अहिले १७ सांसद छन् । नौ सांसद गुमाउन पुगेमा उसको हैसियत ८ सांसदमा झर्नेछ । गठबन्धन दलका नेताले हाल कायम सिट यथावत् राखेर गठबन्धन दलका बीच रिक्त हुने एमालेका ९ सिटमा भागबन्डा हुने बताउँदै आएका छन् । ‘संख्यामा सैद्धान्तिक मापदण्ड यही हुन सक्छ, तर क्लस्टरको विषयमा हेरफेर हुन सक्छ,’ कांग्रेस प्रमुख सचेतक लेखकले भने ।
शीर्ष नेताबीचको अनौपचारिक कुराकानीमा कांग्रेसले कम्तीमा ९ सिट पाउनुपर्ने दाबी राखेको छ । अध्यक्षसमेत खाली हुने भएकाले कांग्रेसले त्यसमा समेत आफ्नो दाबी अघि सार्दै आएको छ । संवैधानिक निकायका पदाधिकारी सिफारिस गर्ने परिषद्को ६ सदस्यमध्ये राष्ट्रिय सभाका अध्यक्ष पनि सदस्य रहन्छन् ।
कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक जना सदस्य पनि नभएकाले परिषद्को शक्ति सन्तुलनका हिसाबले पनि राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले पाउनेमा कांग्रेस नेताहरू ढुक्क छन् । कांग्रेसभित्रै अध्यक्ष बन्नका लागि झापा–३ बाट चुनाव हारेका कृष्णप्रसाद सिटौला, समानुपातिक सूचीमा नाम रहेका (हाल राष्ट्रिय सभामा आउन हटाएका) गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य मीनेन्द्र रिजालको नाम चर्चामा छ । गत निर्वाचनमा रिजाललाई टिकट दिन र समानुपातिकबाट समेत वञ्चित गरिएको थियो । पार्टीका सहमहामन्त्रीद्वय फरमुल्ला मन्सुर, डिना उपाध्याय, चीनकाजी श्रेष्ठलगायतका एक दर्जन केन्द्रीयस्तरकै नेता राष्ट्रिय सभाका आकांक्षी छन् ।
माओवादीबाट ३ सांसदको अवधि सकिँदै छ । त्यसलाई कायम राखेर माओवादीले थप ३ सिट दाबी गरेको छ । गत चुनावमा पराजित र समानुपातिक सूचीमा परेका केन्द्रीयस्तरका नेताहरूको नाम बढ्ता चर्चामा छ । राष्ट्रिय सभामा आउने आकांक्षा देखाएरै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको चर्चा माओवादीभित्र छ । महासचिव देव गुरुङ, नेताहरू लीलामणि पोखरेल, डोरप्रसाद उपाध्याय, चक्रपाणि खनाल, कुबेर ओलीलगायतका नेता राष्ट्रिय सभामा आउन खोजिरहेका छन् । गुरुङ र खनाल दुवैले प्रतिनिधिसभा चुनाव हारेका हुन् । गुरुङले गठबन्धन दलबीच साझा उम्मेदवार हुने भए पनि भागबन्डाका विषयमा कुरा नभएको बताए । ‘सरकारमा सँगै रहेकाले राष्ट्रिय सभामा गठबन्धन गरेर जाने कुरा पक्कै हुन्छ, तर यस विषयमा शीर्ष नेताबीच छलफल भएको भन्ने मलाई थाहा छैन,’ गुरुङले भने, ‘कुन मापदण्डमा कसरी सिट मिलाउने भन्नेबारेमा नेताहरूले पार्टी र गठबन्धनमा पक्कै कुरा ल्याउनुहोला ।’
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् । गठबन्धनलाई साथ दिँदै आएको राष्ट्रिय जनमोर्चा भने सत्तामा छैन । सरकारका ७ सहयात्री दलमध्ये राष्ट्रिय सभामा भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका बीचमा मात्रै भागबन्डा गर्ने कि, सरकारमा भएका खास क्षेत्रमा मत भएका नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादीलाई पनि भागबन्डामा सामेल गर्ने भन्नेबारेमा गठबन्धनभित्रै मतैक्य छैन । जनमत र नागरिक उन्मुक्तिले पनि सिट दाबी गरेका छन् । जनमतको मधेश र नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम र लुम्बिनीमा राम्रो मत छ । तर, कांग्रेस र माओवादीका शीर्ष नेताले राष्ट्रिय सभामा प्रतिनिधित्व भएका दलबीच मात्रै सिट भागबन्डा गर्ने गरी छलफल अघि बढाउन चाहेको कांग्रेसका एक पदाधिकारीले बताए ।
कुल ५७ हजारभन्दा बढी मतभारमध्ये २ हजार १ सय ८ मात्रै मतभार रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षसहित थप २ सिटको दाबी गरेको स्रोतले बतायो । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगसमेत कुरा राखिसकेको एसका एक पदाधिकारीले बताए । ‘यो गठबन्धन बनाउन हाम्रो ठूलो योगदान छ । यसलाई नजरअन्दाज गर्ने कुरा हुन सक्दैन’ भनेर हाम्रा अध्यक्षले दाहाल र देउवाजी दुवैलाई कुरा राख्नुभएको छ,’ ती नेताले भने ।
जसपा प्रवक्ता मनीष सुमनले एक स्थान सुरक्षित गर्दै थप सिटको दाबी रहेको बताए । अनौपचारिक तहमा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसँग थप एक सिटको दाबी गर्दै आएका छन् । ‘कति पाउने भन्नेबारेमा गम्भीर ढंगले छलफल नै भएको छैन,’ सुमनले भने, ‘गठबन्धनबीच छलफल हुँदा थप सिटमा दाबी अवश्य गर्छौं ।’ प्रदेशका ५ सय ५० सांसद र ७ सय ५३ पालिकाका प्रमुख तथा उपप्रमुखको मतभारका आधारमा राष्ट्रिय सभा सदस्य चुनिन्छन् । २०७८ को जनगणनाको प्रतिवेदनका आधारमा निर्वाचन आयोगले प्रदेश सांसदको ५३ र पालिकाका प्रमुख/उपप्रमुखको १९ मतभार कायम गरेको छ । त्यसअघि प्रदेशसभाका सदस्यको ४८ र पालिकाका प्रमुख तथा उपप्रमुखको १८ मतभार थियो । ७ सय ५३ पालिकाका १५ सय ६ जना प्रमुख/उपप्रमुख र सातवटै प्रदेशका ५ सय ५० सांसदको समेत गर्दा कुल मतभार ५७ हजार ७ सय ६४ हुन्छ ।
सत्ता गठबन्धनमा सहभागी सात दलमध्ये हाल राष्ट्रिय सभामा प्रतिनिधित्व भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीचमा मात्रै साझा उम्मेदवार तय भएमा पनि गठबन्धनको पक्षमा ५१ प्रतिशतभन्दा बढी मत देखिन्छ । करिब ५८ हजार मतभार रहेकामा चार दलीय गठबन्धनको मात्रै ३४ हजार ६ सय ११ मतभार छ । यो भनेको ६० प्रतिशत हो । प्रमुख प्रतिपक्ष एमालेको कुल मतभार १७ हजार २६ छ ।
एमाले सचेतक महेश बर्तौलाका अनुसार राष्ट्रिय सभामा विपक्षीहरूको गठबन्धन बनाउने वा नबनाउने भन्नेबारेमा कुनै छलफल नभएको बताए । राष्ट्रिय सभामा मताधिकार भएका विपक्षी पार्टीमा राप्रपा र नेपाल मजदुर किसान पार्टी छन् । त्यस्तै प्रदेश र स्थानीय तहमा स्वतन्त्र प्रतिनिधि पनि छन् । सत्ता गठबन्धनभित्रको आन्तरिक स्थिति के हुन्छ, त्यसलाई हेरेर एमालेले रणनीति बनाउने बर्तौलाले बताए । ‘हामी एक्लै पनि प्रतिस्पर्धा गर्ने सम्भावना छ, तर पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त भएकाले नेताहरू यस विषयमा छलफलमा जुट्न भ्याउनुभएको छैन,’ उनले भने, ‘स्वाभाविक रूपमा सत्ता गठबन्धन एकगठ हुँदा हाम्रो स्थिति बलियो छैन । तर सत्ता गठबन्धनभित्र पनि असन्तुष्टिहरू छन् । त्यसलाई हेर्नुपर्छ ।’
निर्वाचन आयोगका अनुसार सात प्रदेशमध्ये वाग्मतीमा ४, सुदूरपश्चिम, कर्णाली र गण्डकीमा ३/३, कोशी, मधेश र लुम्बिनी प्रदेशमा २/२ जनाका लागि निर्वाचन हुँदै छ ।

मुख्य पृष्ठ

कर बक्यौता विवाद ७५ प्रतिशत इन्टरनेट बन्द हुने चेतावनी

२ अर्ब २५ करोड रुपैयाा बेरुजु चुक्ता नगरेका सेवा प्रदायकले विदेशमा भुक्तान गर्नुपर्ने रकम पठाउन सरकारको रोक
- सजना बराल

(काठमाडौं)
इन्टरनेट सेवा प्रदायक र सरकारबीच बेरुजुको विषयमा विवाद बल्झेसँगै सेवा प्रदायकहरूले पुस १५ देखि देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । विदेशबाट ब्यान्डविथ आयात गरेबापतको शुल्क आफूहरूले भारतीय कम्पनीलाई तिर्न नपाएकाले इन्टरनेट सेवा बन्द हुने अवस्था आउन लागेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ ।
देशभर करिब ७५ प्रतिशत इन्टरनेट अवरुद्ध हुन सक्ने आईस्पानका अध्यक्षसमेत रहेका सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीले बताए । ‘हामीले ब्यान्डविथ किन्ने गरेको भारतका एयरटेल र टाटाले डिसेम्बर ३१ सम्मको समय दिएका छन्, त्यतिञ्जेल रकम भुक्तानी नगरे नेपालमा इन्टरनेट बन्द हुन्छ,’ पराजुलीले भने, ‘ब्यान्डविथ भित्र्याउनेमध्ये वर्ल्डलिंक, भायानेट, सुबिसु र क्लासिक टेकलाई भारतीय कम्पनीले पत्र पठाएको छ । शुल्क नतिरे इन्टरनेट काट्छौं भनेको छ ।’ शुल्क भुक्तानीका लागि सेवा प्रदायकले दुई महिनाअघि नै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई विदेशी मुद्रा सटही सिफारिसका लागि आवेदन दिएको पराजुलीको भनाइ छ । प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस पत्र पठाए पनि मन्त्रालयले हाल प्रक्रिया रोकिदिएको छ । मन्त्रालयको सिफारिस पत्र प्राप्त भएपछि नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई विदेशी मुद्रा सटहीको स्वीकृति दिन्छ ।
सेवा प्रदायकहरूले सरकारलाई बुझाउनुपर्ने भनिएको करिब २ अर्ब २५ करोड रुपैयाँ बेरुजु चुक्ता नगरेकाले मुद्रा सटहीमा सहजीकरण नगरेको मन्त्रालय जनाएको छ । बेरुजु चुक्ता नहुन्जेल सहजीकरण नगर्ने भन्दै मन्त्रालयले प्राधिकरण र सेवा प्रदायक दुवैलाई पत्र पठाइसकेको छ । ‘यस विषयमा मन्त्रालयले समिति नै बनाएर अध्ययन गर्दा सेवा प्रदायकले बुझाउनुपर्ने रकम समयमा नउठेको भन्ने देखिएको छ,’ सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने, ‘यसबारे खोजी गर्ने प्रमुख दायित्व दूरसञ्चार प्राधिकरणको भएकाले कैफियत भए पत्ता लगाउन, नियमनको काम गर्न र बक्यौता भए उठाउनु भनेर हामीले पत्र पठाएका छौं ।’ मन्त्रालयका अर्का एक अधिकारीले यस विषयमा प्राधिकरणको स्पष्ट धारणा नआएको र नियामकले बक्यौता छैन भनेको खण्डमा मात्रै मन्त्रालयले मुद्रा सटहीलगायतको प्रक्रिया अघि बढाउने बताए ।
यसैबीच, प्राधिकरणले ३० वटा दूरसञ्चार सेवा प्रदायकको सूची निकाल्दै तिनले केही वर्षको रोयल्टीसहित अन्य बक्यौता रकम नतिरेको हुनाले एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्राधिकरणले मंसिर १५ मा जारी गरेको सूचनामा अटेर गर्ने सेवा प्रदायकको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइनेसमेत उल्लेख छ । प्राधिकरणका अनुसार ब्रोडब्यान्ड नेपाल, कालिका नेट, गण्डकी कम्युनिकेसन, नियोलिंक, यस नेपाल, वाइफाई एचडी, प्राइम नेटवर्क, निम्बल नेटवर्कसमेत ३० वटा सेवा प्रदायकले बक्यौता रकम तिरेका छैनन् । तोकिएको अवधिभित्र सम्पर्कमा नआए दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
हालसम्म केही सेवा प्रदायक सम्पर्कमा आए पनि ठ्याक्कै कतिवटा आए, निर्क्योल नभएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलको भनाइ छ । यसअघि मंसिर २० मा प्रतिनिधिसभाको अर्थ समितिले पनि दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीबाट प्राप्त हुने रोयल्टी र राजस्वको तथ्यांकका बारेमा छलफल गरेको थियो । त्यो बेला सांसदहरूले एक दशक अवधिको बक्यौता प्राधिकरणले किन असुल गर्न नसकेको भनी प्रश्न गरेका थिए ।
साथै, आईएसपीहरूले घरायसी प्रयोगकर्ताबाट उठाउने मर्मतसम्भार शुल्कमा कर छुट दिएको विषयमा पनि केही सासंदले जिज्ञासाराखेका थिए ।
‘दसौं वर्षसम्म सेवा प्रदायकले बक्यौता नतिरेको विषयमा प्राधिकरणले बल्ल अहिले आएर पत्र काटेको छ, किन यति ढिलो ?’ रास्वपा सांसद विराजभक्त श्रेष्ठको प्रश्न थियो, ‘तपाईंहरूले के कारण सेवा प्रदायकलाई छुट दिइरहनुभएको छ ? यसमा हाम्रो गम्भीर आपत्ति छ । कसैले मिलेमतोमा छुट पाइरहने र राजस्वमा चुहावट भइरहेको यो खालको विषय समितिबाट समाधान हुन नसके हामी सडकमा आउन बाध्य हुन्छौं ।’ माओवादी सांसद गंगा कार्कीले पनि साढे २ अर्ब असुलीमा आलटाल गर्नॅ र कर छुट दिनु गम्भीर विषय भएको धारणा राखेकी थिइन् । सांसदहरूको जिज्ञासाको जवाफ दिँदै प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले एक दशक नभई आर्थिक वर्ष २०७४/७५ देखिको बक्यौता रहेको र प्राधिकरणले सो बक्यौता जरिवानासहित असुल गर्ने प्रक्रियामा रहेको बताएका थिए । ‘यो पैसा उठ्छ, बीचमा सार्वजनिक लेखा समितिले नउठाउनु भन्ने निर्देशन दिएकाले हामीले त्यो मान्नु परेको हो,’ अध्यक्ष खनालको भनाइ थियो, ‘धेरै दबाब दिँदा सेवा नै अवरुद्ध हुने संवेदनशील क्षेत्र भएकाले हामी लचिलो हुनुपर्ने अवस्था छ । तर, बक्यौता असुल गर्छौं । राजस्वमा छुट दिएर सहजीकरण गरिएको छैन, बरु अहिले उपकरण आयातदेखि मुद्रा सटही रोकिएको अवस्था छ ।’
इन्टरनेट सेवा प्रदायकहरूले कर छली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र हाल अख्तियारले पनि यस विषयमा छानबिन थालेको छ । यद्यपि, अख्तियारले हालसम्म यस विषयमा सञ्चार मन्त्रालयमा सम्पर्क नगरेको मन्त्रालय स्रोतको भनाइ छ ।

पुरानै विवाद
गत वर्ष वैशाखमा पनि इन्टरनेट सेवा प्रदायक र सरकारबीच बेरुजुका विषयमा विवाद हुँदा सेवा प्रदायकले देशरभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी दिएका थिए । त्यो बेला आईस्पानले विज्ञप्ति जारी गर्दै स्थानीय तह चुनावका बेला देश इन्टरनेटविहीन हुन सक्ने बताएको थियो । देशभर इन्टरनेट पूर्ण रूपमा बन्द भए त्यसको जिम्मेवार सरकार हुने भन्दै आईस्पानले सरकार निजी क्षेत्रमैत्री नभएको गुनासो गरेको थियो ।
‘नेपाल टेलिकमको पनि अहिले अर्बौं रुपैयाँ बेरुजु छ,’ आईस्पानका अध्यक्ष पराजुली भन्छन्, ‘उसलाई त मन्त्रालयले उपकरण आयातदेखि सबै कुरामा सघाइरहेकै छ । हामी निजी क्षेत्रलाई भने तुच्छ किसिमको व्यवहार गरिएको छ । सरकारले नै हामीसँग नौबुँदे सम्झौता गरेर मर्मतसम्भार शुल्कमा कर लाग्दैन, तिर्नॅ पर्दैन भनेको हुनाले हामीले तिरेनौं । अहिले एकैचोटि अर्बौं तिर्ने हाम्रो क्षमता छैन ।’ मन्त्रालयमा यसअघि पनि पटक–पटक यस विषयमा समिति बनेर विभिन्न सम्झौता भइसकेको र अहिले फेरि उही विषय ब्युँत्याइएको पराजुलीको गुनासो छ । ‘सरकारको इन्स्टिट्युसनल मेमोरी (संस्थागत स्मृति) छैन,’ उनले भने, ‘एउटै विषयमा बारम्बार अध्ययन गरिएको छ । हाम्रो प्रतिनिधित्वबिना भएको अहिले अध्ययन हामीले कसरी मान्ने ?’
केही समयअघि मात्रै सञ्चार मन्त्रालयमा सहसचिव गौरव गिरीको संयोजकत्वमा गठित समितिले २०६९/७० देखि २०७८/७९ सम्म १० वर्षको अवधिमा इन्टरेनट सेवा प्रदायकले दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत सरकारलाई बुझाउनुपर्ने करका विषयमा अध्ययन गरेको थियो । यस अवधिमा सेवा प्रदायकले जरिवानासहित २ अर्ब ४६ करोड ९० लाख ५९ हजार नौ सय ७८ रुपैयाँ कर नतिरेको समितिको ठहर छ । कर नतिर्नेमा वर्ल्डलिंक कम्युनिकेसन, सुबिसु केबलनेट, क्लासिक टेक, भायानेट, मर्कन्टाइल, वेभ सर्फर, टेकमाइन्ड्सलगायत छन् ।

Page 2
समाचार

भारतीय पर्यटकको रोजाइ सौराहा र पोखरा

पछिल्लो समय नेपाल आउने पर्यटकमा भारतको पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशका बढी
- रमेशकुमार पौडेल,दीपक परियार,सन्जु पौडेल

(चितवन),(पोखरा) र (लुम्बिनी)
भारतको मुम्बईबाट १ सय ३० जनाको समूहका साथ नेपाल घुम्न आएका सञ्जय पाटिल विभिन्न ठाउँ हुँदै गएको बिहीबार साँझ सौराहा पुगे । पहिलो पटक चितवन पुगेका उनी साथीहरूलाई जंगल सफारी र हात्ती प्रजनन केन्द्र (इलाफेन्ट ब्रिडिङ सेन्टर) मा जान जोड दिइरहेका थिए । सिंहको बासस्थान रहेको गुजरातको गिर नेसनल पार्कमा जंगल सफारीपछि बाघ पाइने जंगल घुम्ने धोको पूरा गर्न यहाँ आएको पाटिलले बताए ।
सौराहा आएका अधिकांश पर्यटक बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्छन् । उक्त वन कार्यालयको गेटअगाडि भेटिए– विकास गुप्ता । उत्तर प्रदेश बलियाका गुप्ताको समूहमा १ सय ५० जना थिए । सफारी गर्न मात्रै हैन, पछिल्लो पटक सौराहामा भारतबाट विवाहका लागि पनि आउने गरेका छन् । बलियाका गुप्ताले भारतकै बेहुला–बेहुली र उनीहरूका साथ वैवाहिक कार्यक्रममा सरिक हुन सौराहा आएको बताए ।
सञ्जयजस्तै सफारीका लागि र विकासजस्तै बिहेका निम्तालु समूहमा सौराहामा आउने–बस्ने गर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जले नेपाली, सार्क र विदेशी गरी पर्यटकको विवरण राख्ने गर्छ । सार्क मुलुकबाट घुम्न आउने लगभग सबै भारतीय हुने व्यवसायीहरू बताउँछन् ।
निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार साउनदेखि कात्तिकसम्मका चार महिनामा ८० हजार २ सय २३ जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । तीमध्ये सार्क राष्ट्रका पर्यटकको संख्या ६ हजार ७ सय ५२ छ । २०७२ को भूकम्पअघि वर्षमा १४ हजार हाराहारी भारतीय पर्यटक चितवन निकुञ्ज घुम्न आउँथे । कोरोनाले पर्यटन क्षेत्र शिथिल हुनुअघि सार्क मुलुकबाट आउने पर्यटकको संख्या वर्षमा ३७ हजारसम्म पुगेको निकुञ्जको तथ्यांक छ । ‘अहिले भारतीय पर्यटक बढ्दै छन् । पहिला एक रात बस्ने गरेर आउँथे । अहिले दुई/तीन रात बस्ने, यहाँका सबै ठाउँ घुम्ने गर्छन्,’ सौराहास्थित होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले भने ।
भारतको सीमावर्ती क्षेत्रबाट मात्रै नभएर महराष्ट्र, गुजरात, दिल्ली, कोलकाता र दक्षिण भारतबाट पनि नेपाल घुम्न आउने चलन बढेको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउँछन् । ‘सौराहा नै जाने, जंगल घुम्ने, दुर्लभ वन्यजन्तु हेर्ने भनेर आउने भारतीयको संख्या बढ्दो छ,’ उनले भने । कात्तिक लागेसँगै भारतीय पर्यटकको संख्या बढ्ने निकुञ्जको तथ्यांकले देखाउँछ । ‘हात्ती चढ्ने, डुंगा चढ्नेमा भारतीय पर्यटकको संख्या राम्रो हुने गरेको छ,’ हात्ती र डुंगा सफारी चलाउँदै आएको सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले भने । भिसा, पासपोर्ट नचाहिने राम्रो देश हो भन्ने सुन्दै आएकाले ११ दिनको समय लिएर नेपाल घुम्न निस्केको सञ्जय पाटिलले सुनाए । उनीहरू सुनौलीबाट भैरहवा, लुम्बिनी घुम्दै सिद्धार्थ राजमार्ग भएर पोखरा गए ।
पोखराबाट काठमाडौं पुगेर सौराहा आएका उनीहरू अब सुनौली हुँदै फर्कंदै छन् । सञ्जयको समूह आएको बसका चालक भारत बनारसका कुलदीप गिरी पर्यटक ल्याएर पटक–पटक नेपाल आइरहेको बताउँछन् । सन् २०१२ देखि बस चलाइरहेका उनी प्रायः सुनौली हुँदै पर्यटकलाई नेपाल ल्याउँछन् । उनको बसमा आउने पर्यटक धेरैजसो लुम्बिनी जान्छन्, त्यसपछि पाल्पा हुँदै पोखरा पुग्छन् । काठमाडौं जाँदा मनकामना छिर्न बिर्संदैनन् । काठमाडौं पुगेपछि फर्कंदा चितवन घुम्छन् । अनि, फेरि सुनौली हुँदै भारत फर्किन्छन् ।

पोखरामा धार्मिकसँगै साहसिक पर्यटक
पोखरामा भारतीय पर्यटक भित्र्याउनेमध्ये अग्रपंक्तिमा पर्छन्, फिस्टेल होलिडेज ट्राभल सञ्चालक राजेश पहारी । उनको ट्राभल एजेन्सीमार्फत यही साता १ सय ५० भारतीय पर्यटक पोखरा घुमिरहेका छन् । उनीहरूको गन्तव्य भने मुक्तिनाथ हो । गुजरातबाट काठमाडौं हुँदै असोज दोस्रो साता ७ सय बढी पर्यटक सडकमार्गबाट पोखरा आएका थिए । मुक्तिनाथको धार्मिक यात्रामा निस्किएको नीलकण्ठवर्णी स्मृतियात्राको टोलीमा रहेका भारतीय पर्यटक मुस्ताङ जाँदा र फर्कंदा पोखरामा बास बसे । पशुपतिनाथ दर्शन गरेपछि धेरैजसो भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथ पुग्ने र फर्कंदा चितवनको सौराहा घुम्ने गरेको पहारी बताउँछन् । पछिल्लो समय पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशका सहरबाट पोखरा भ्रमणमा आउने पर्यटक बढेका छन् । ‘पोखरा आउने भारतीय पर्यटकमध्ये ४० प्रतिशत मुक्तिनाथ पुगेकै हुन्छन्,’ उनी भन्छन्, ‘६० प्रतिशतजति पोखरामा रमाउँछन् ।’
 नयाँ गन्तव्यका रूपमा रहेको पुम्दीकोटको शिव मूर्ति र सराङकोट पुग्ने अन्नपूर्ण केबलकार पनि भारतीयको रोजाइँमा पर्ने गरेको छ । धार्मिकबाहेक सीमावर्ती सहरबाट वैशाख, जेठ र असारमा गर्मी छल्न पोखरा आउने भारतीय पर्यटकको संख्या बढी छ । भारतीय पर्यटकको मुख्य सिजन नै यही भएको पहारी बताउँछन् । समूहमा आउँदा सस्तो पर्ने भएकाले धेरैले सडक मार्ग नै रोज्ने गरेको उनको अनुभव छ । ‘यहाँका होटलले आफ्नै सवारीसाधनमा एयरपोर्टसम्म रातो नम्बर प्लेटका साधन लैजाँदा पनि ट्याक्सीको तारोमा पर्नुपर्छ,’ उनी भन्छन्, ‘उताबाट भारतीयहरू निजी सवारीमै पोखरा घुम्न आउँछन् । नेपालमा मात्रै घुमाउने उद्देश्यले गोरखपुरका टुर अपरेटरले निजी सवारीसाधन राखेका छन् । त्यसको अनुगमन यहाँ हुँदैन ।’
पोखराका पर्यटकीय संस्थाले भारतका सीमावर्ती सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएका छन् । होटल संघ पोखरा नेपालले उत्तर प्रदेश, विहारका सहरमा ‘चलिए पोखरा’ अभियान चलाएको छ । पोखरा पर्यटन परिषद् र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी सिलिगुडीमा हरेक वर्ष हुने बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागी हुन्छन् । पोखरा महानगरले भारतीय सहरमा पर्यटन प्रवर्द्धन गर्न नाट्टा गण्डकीलाई सहयोग गरेको छ ।
नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी पोखरामा भारतीय पर्यटकको आगमन सन् २०१९ कै हाराहारीमा रहेको बताउँछन् । ‘पहिला धेरै समूहमा आउने, कम खर्च गर्ने भारतीय पर्यटक धेरै थिए,’ उनले भने, ‘अहिले खर्चालु पर्यटक पनि छन् ।’ उनका अनुसार पोखरा आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत हिस्सा भारतीयको छ । खर्चालु भारतीय पर्यटकका लागि क्यासिनो, पाँचतारे होटल लगायत पोखरामा पूर्वाधारको अझै अभाव छ । विहारमा मदिरा प्रतिबन्धित भएकाले पोखरामा अलि बढी भारतीय पर्यटक आकर्षित भएका हुन् । ‘भीआईपी पर्यटक नेपाल नै नआएका होइनन् तर पोखरा आएका छैनन् । पोखरालाई पर्यटनको राजधानी बनाउने भनिरहेका छौं । तर, त्यसका लागि आवश्यक पूर्वाधार छैन,’ उनले भने, ‘नेपालगन्जमा १० वटा क्यासिनो छन् । तर, पोखरामा अहिले एउटा मिनी क्यासिनो मात्रै छ । प्राकृतिक सम्पदामा मात्रै रमायौं, पूर्वाधारमा ध्यानै दिएनौं ।’
मुग्लिन–पोखरा सडक विस्तारका कारण बाटो अप्ठ्यारो भएको सन्देश जाँदा धेरै भारतीय पर्यटक काठमाडौंबाट पोखरा आउने क्रममा मुग्लिनबाट सौराहा मोडिने गरेको उनले बताए । पटना, लखनउ, वाराणसी, दिल्ली र कोलकाताबाट पोखरामा सिधा उडान हुन सके भारतीय पर्यटकको आगमन बढ्ने उनको आकलन छ । भदौ, असोज र कात्तिकमा भारतीय पर्यटकको आगमनलाई हेर्दा आगामी वैशाख, जेठ, असारमा अत्यधिक भारतीय पर्यटक पोखरा आउने संकेत देखेको उनले बताए ।
 पछिल्लो समय छोटो पदयात्रामा भारतीय पर्यटकले रुचि देखाएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘मर्दी, घोरेपानी–पुन हिलजस्ता छोटा गन्तव्यमा भारतीय युवा पर्यटकको आकर्षण बढ्दो छ,’ उनले भने, ‘अहिले पनि मर्दी हिमालमा इतिहासकै बढी भारतीय पर्यटक पुगेका छन् ।’
साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ६७ हजार ४ सय ४२ विदेशी पर्यटक भित्रिएकामा २४ हजार ६ सय ५७ दक्षिण एसियाली मुलुकका छन् । दक्षिण एसियालीमध्ये ९९ प्रतिशत भारतीय पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अधिकृत बाबुलाल तिरुवाले बताए । ‘यो संख्या अधिकांश मुक्तिनाथ पुग्ने भारतीय पर्यटकको हो,’ उनले भने, ‘पदयात्रामा जानेको संख्या पनि क्रमिक रूपले बढ्दो छ ।’

समाचार

लुम्बिनीमा दैनिक पाँच सय

नयाँ दिल्लीकी अश्विनी महन्ती बेलहिया नाका हुँदै लुम्बिनी पुगिन् । गएको साता आमासहित लुम्बिनी र काठमाडौं घुम्न आएकी उनले गोरखपुरसम्म जहाजमा र त्यहाँबाट गाडी रिजर्भ गरेर आएको बताइन् । दिनभर लुम्बिनी घुमेर बास बस्न नारायणगढ पुग्ने योजना रहेको उनले सुनाइन् । रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीयको संख्या यकिन नभए पनि दैनिक पाँच सयको हाराहारीमा उनीहरू रूपन्देही हुँदै विभिन्न पर्यटकीय स्थलमा पुग्ने गरेका छन् ।
लुम्बिनी आसपासका होटलमा भारतीय पर्यटकले बढीमा एक रात मात्र बिताउने गरेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बताए । भारतीय पर्यटकलाई जिल्लामा टिकाइराख्ने खालका पूर्वाधार नहुनुले उनीहरूलाई यहाँ रोक्न नसकिएको उनले बताए । भारतीयहरू लुम्बिनीमा बसे पनि धर्मशाला वा मठमन्दिरका आश्रम रोज्ने गरेकाले स्थानीयको व्यवसायमा कमै लाभ पुग्ने उनले बताए । पर्यटकको संख्याका आधारमा दैनिक १ सय जना भारतीय बेलहियाबाट आएमा २० जना मात्र रूपन्देहीमा बस्ने गरेको उनले सुनाए । नेपाल सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोटो) लुम्बिनीका संस्थापक अध्यक्ष सञ्जय बजिमयले अध्यागमनमा भारतबाट आएका बिनापासपोर्टका पर्यटकको तथ्यांक राख्ने व्यवस्था नहुँदा कति पर्यटक भित्रिए भन्ने विषय अन्योलमा रहेको बताए । आन्तरिक तथा भारतीयलाई पर्यटक नै नमान्ने सरकारी अवधारणाले देशमा भित्रिएका भारतीयको लेखाजोखा नरहने उनले बताए । आफ्नो टुर्स एन्ड ट्राभल्समा प्रत्येक दिन ५ देखि ८ जनासम्मका २/३ वटा समूह आउने र उनीहरूले सिधै पोखरा, काठमाडौं वा मुक्तिनाथतिरको प्याकेज खोज्ने गरेको उनले बताए ।
‘लुम्बिनीमा मुस्किलले एक रात बिताउने भारतीय आउँछन्,’ उनले भने, ‘सडकबाट आउने भारतीय त बिहान आउने र साँझ फर्कने खालका हुन्छन् ।’ लुम्बिनी विकास कोषका अनुसार गत नोभेम्बर महिनामा २८ हजार ८ सय ८७ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । हरेक महिना लुम्बिनी भ्रमण गर्नेको संख्या अधिक देखिए पनि लुम्बिनीमै बस्ने पर्यटक भने कम छन् ।

Page 3
समाचार

स्थानीय सम्बन्ध जोड्दै संकल्प यात्रा सुदूरपूर्व

बैतडीको झुलाघाटमा १७ दिनअघि सुरु भएको अभियान आइतबार पााचथरको चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर समापन गरिने
- गंगा बीसी

(काठमाडौं)
नागरिक किन पलायन भइरहेका छन् ? समाजमा किन निराशा छ ? समस्याका कारण के हुन् ? यिनै प्रश्न उठाएर एमालेले बैतडीको झुलाघाटबाट मंसिर १४ मा मध्यपहाडी राजनीतिक यात्रा सुरु गरेको थियो । ‘राजधानी र गाउँको दूरी घटाउन, सम्बन्धहरू बढाउन, समस्याको समाधान निकाल्न राष्ट्रिय सन्देश निर्माणका लागि यात्रा’ तय गरेको एमालेले शनिबार पाँचथरको फिदिममा अन्तिम औपचारिक सभा गरेको छ ।
पश्चिम पहाडको यात्रामा माओवादीलगायत अन्य दलको स्वागत पाएको एमालेले कोशी प्रदेशको पहाडी जिल्ला छिर्नासाथ पहिचानवादीको अवरोध सामना गर्नुपर्‍यो । कोशी प्रदेश नामकरणमा पहिचानलाई नामेट गर्न एमालेले भूमिका निर्वाह गरेको पहिचानवादीको आरोप छ । यही आरोपका बीच फिदिमको सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भने, ‘दुश्मनी गरेर कहीं पुग्न सकिँदैन । मतभेद हुन सक्छन् तर शान्तिपूर्ण विधि र प्रक्रियाबाट संवाद र निर्वाचनका माध्यमबाट समस्या समाधान हुन सक्छन् ।’
‘सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय’ नाम दिएको एमालेको यात्रा आइतबार पाँचथरको चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर समापन गर्ने कार्यक्रम छ । बैतडीको झुलाघाटमा अध्यक्ष ओलीले राष्ट्रिय झन्डा गाडेर १७ दिनअघि अभियान सुरु गरेका थिए । उपमहासचिव प्रदीप ज्ञवाली एमालेको मध्यपहाडी (पुष्पलाल) राजमार्ग यात्रामा मुख्यगरी तीन निष्कर्ष निस्किएको बताउँछन् । ‘विकास पहाडी गाउँ पसेको तर स्थानीय सहर पस्दै गएको । कृषिलगायत उत्पादन घटेको, रोजगारीको समस्या विकराल बन्दै गएको । र, जलवायुको असर जबर्जस्त देखिएको । यी समस्या समाधानका लागि महत्त्वपूर्ण तथ्य तथ्यांक प्राप्त भएका छन्,’ उनले भने, ‘हामी प्राप्त सुझावलाई विश्लेषण गरी आगामी दिनमा ठोस योजना बनाउने छौं ।’
करिब दुई हजार किलोमिटर यात्रामा ३० ठूला सभा र करिब एक सय साना कार्यक्रमबाट एमालेले महत्त्वपूर्ण राजनीतिक सन्देश पाएको ज्ञवालीले बताए । ‘जनताको गुनासा/सुझाव सुन्न चुनावबाहेक अरू बेलामा पनि राजनीतिक दलहरू गाउँ आउनुपर्ने हजारौंले सुझाव दिएका छन् । मुलुक परिवर्तनका लागि विगतमा महत्त्वपूर्ण भूमिका खेलेका राजनीतिक दलप्रति जनताको अगाध भरोसा देखियो,’ उनले भने, ‘पक्कै पनि जनताका गुनासा छन् । गुनासा सम्बोधन हुने आशासहित उनीहरूमा एमाले, लोकतान्त्रिक गणतन्त्र, संविधानप्रति विश्वास छ ।’ एमालेको ‘लङमार्च’ ले मुलुकको लोकतान्त्रिक गणतन्त्रको भविष्यप्रति प्रश्न उठाउनेलाई बलियो जवाफ दिएको उनले तर्क गरे । ‘राति १० बजेसम्म चिसोमा धैर्य गरेर सर्वसाधारणको सक्रिय सहभागिता रहनुको अर्थ हो, लोकतान्त्रिक गणतन्त्रप्रतिको भरोसा,’ उनले थपे । स्थानीय सम्बन्ध बलियो बनाउँदै यात्राले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि ऊर्जा दिएको एमालेको निष्कर्ष छ ।
यात्रामा अध्यक्ष ओलीले तेह्रथुम आठराईस्थित इवामा आफू जन्मेको घर पुगे र पत्नी राधिकासँग एक रात बिताए । उनले बाल्यकालका साथीहरूसँग भलाकुसारी गर्न पनि भ्याए । ‘जन्मघर इवा पुग्दा बाल्यजीवनका रमाइला दिनहरूको खुब सम्झना भयो । यसपालि तेह्रथुम आउँदा म एक्लै थिइनँ, महाकालीदेखि यात्रारत यात्रीहरू पनि सँगै हुनुहुन्थ्यो । विकास गाउँ पुग्न थालेको छ, तर गाउँमा बस्नेहरू गाउँ छोड्न थालेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘हामी गाउँलाई कसरी सुविधा र कमाइको केन्द्र बनाउने भन्ने कुराकानी गर्दै पश्चिमदेखि पूर्वसम्मै हिँडिरहेका छौं ।’
मंसिर १४ देखि यात्रा थालेका ७२ वर्षीय ओली टोलीसहित निरन्तर यात्रामा छन् । उनले सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल निङलासैनी भगवगती, डडेल्धुराको उग्रतारा, डोटी सिल्गढीको शैलेश्वरीलगायत मन्दिरमा पूजापाठ गर्न भ्याए । मध्यपहाडी राजमार्गको भेरी बबई डाइभर्सन, स्थानीय उद्योग, कृषि उत्पादनको अवलोकन र स्थानीय सांस्कृतिक कार्यक्रममा नाचगान गरे ।  
राजनीतिक विश्लेषक झलक सुवेदीले एमाले अभियानले सुदूरपश्चिमदेखि पूर्वसम्म कार्यकर्ता परिचालन हुनु सकारात्मक पक्ष भएको टिप्पणी गरे । तर यसले खास जनतासँग संवाद
हुन नसकेको उनको भनाइ छ । ‘सुपर एलिट (अति सम्भ्रान्त) र लोकल एलिट (स्थानीय सम्भ्रान्त) बीच संवाद भयो, सर्वसाधारणसँग खास संवाद भएन,’ उनले भने । एमालेको यो अभियानले आफ्नो जनमत जोगाउन थप बल पुग्न सक्ने उनको भनाइ छ ।
आम निर्वाचनपछि ‘मिसन ग्रासरुट’ चलाएको एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरी मध्यपहाडी अभियान चलाएको जनाएको छ । अध्यक्ष ओलीले सबै सभामा गठबन्धन सरकारको चर्को आलोचना गरेका थिए । पाँचथर फिदिमको सभालाई सम्बोधन गर्दै उनले मिसन ८४ मा एउटा दलले बहुमत ल्याए मात्र मुलुकको विकास हुने दाबी गरे । ‘चुनावदेखि चुनावसम्म हुने तत्त्वबाट देश अघि बढ्न सक्दैन । एमाले सरकारबाट हटेपछि हामीले अस्थिरता, अराजकता र अन्योल देख्यौं । अर्थतन्त्र ओरालो लागेको छ । देश टाट पल्टिँदै छ,’ उनले भने, ‘कर्मचारीलाई तनाखा खुवाउन गाह्रो भइरहेको छ । मजबुत राष्ट्रिय शक्तिको एकल बहुमतको सरकारबिना देशको यथोचित रक्षा हुन, भूगोलको रक्षा हुन, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन एकल बहुमतको सरकार भएन भने सम्भव छैन ।’
ओलीले दाहाल सरकारले स्वतन्त्र परराष्ट्र नीति लिन नसकेको आरोपसमेत लगाए । ‘परराष्ट्र नीति असंलग्न लिने । कसैको विपक्षमा नलाग्ने । कसैको इसारामा राष्ट्रिय हितमा तिलाञ्जली नदिने । त्यसका लागि मिसन ०८४ भनेका छौं,’ उनले सरकारको आलोचना गर्दै भने, ‘विदेशीका अघि बोल्नै नसक्ने । सत्ता नै अन्तिम लक्ष्य हुने ।’
उनले सरकारको अयोग्यताका कारण व्यवस्थाविरोधीहरू चलमलाएको बताए । सरकारको दबाबका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाण छुटे पनि त्यही मुद्दा लागेका एमाले नेता टोपबहादुर रायमाझी जेलमै रहेको ओलीले दाबी गरे । ‘कांग्रेसको मन्त्री भयो भने त्यही विषयको भए पनि छुट्छ, एमालेमा लागेको रिसले कोही मान्छे छुट्दैन,’ उनको भनाइ थियो ।

समाचार

गेटाबारे केसी र समितिबीच टकराव

धनगढी (कास)– कैलालीको गेटामा सरकारद्वारा प्रस्तावित सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइनुपर्ने संघर्ष समितिको माग र प्रतिष्ठान बनाइनुपर्ने डा. गोविन्द केसीको अडानले दुवै पक्षबीच ‘टकराव’ भएको छ । यही मागलाई लिएर केसी शुक्रबारदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा तीन दिने अनसनमा छन् । संघर्ष समितिले केसीले प्रतिष्ठानको माग राखेर सुदूरपश्चिम प्रदेशका बासिन्दाको भावनाविरुद्ध खेलबाड गरेको आरोप लगाएको छ । विश्वविद्यालय बनाउने नाममा  स्थानीयलाई झुलाउने कुरा मात्र भएकाले प्रतिष्ठान बनाएर छोटो बाटोबाट विशेषज्ञ स्वास्थ्य सेवासहित शिक्षण अस्पताल सञ्चालन गरिनुपर्ने केसीको भनाइ छ ।
संघर्ष समितिले गेटामा ६ सय शैय्याको अस्पतालसहित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्नुपर्ने अडान लिँदै चरणबद्ध आन्दोलन गर्दै आएको छ । पछिल्लो समय सरकारले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न विधेयकसमेत अघि बढाइसकेको छ । यससम्बन्धी विधेयक राष्ट्रिय सभामा छलफलका क्रममा छ । ‘यस अवस्थामा केसीले प्रतिष्ठान हुनुपर्ने माग राख्नु सुदूरपश्चिमवासीको लामो समयको संघर्ष, मर्म र भावनाविपरीतको कदम हो,’ संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले भने, ‘हामी मेडिकल विश्वविद्यालय स्थापनाको माग र प्रक्रियाबाट पछाडि फर्किने कुनै सम्भावना छैन । जस्तोसुकै परिस्थितिमा मेडिकल विश्वविद्यालय स्थापना गराइछाड्छौं ।’
केसी भने विश्वविद्यालय बन्नै नसक्ने भन्दै प्रतिष्ठान बनाउनुपर्ने अडानमा छन् । ‘विश्वविद्यालय स्थापना गर्ने नाममा सुदूरपश्चिमका बासिन्दालाई झुलाउने कुरा मात्र हो,’ उनले भने, ‘गेटालाई प्रतिष्ठान बनाएर छोटो बाटोबाट विशेषज्ञ स्वास्थ्य सेवासहित शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’ यसअघि सरकारले पनि आफूसँग प्रतिष्ठाननै बनाउने सहमति गरिसकेकाले कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने उनले दोहोर्‍याए । केसी गेटालाई प्रतिष्ठान बनाउनुपर्ने लगायतका विभिन्न माग राख्दै शुक्रबार साँझदेखि ७२ घण्टे अनशन बसिरहेका छन् । धनगढीका नागरिक अगुवा पदमराज जोशीले पछिल्लो टकरावले सुदूरपश्चिममा शिक्षण अस्पताल बन्नै नदिने चलखेललाई मलजल हुने र सुदूरपश्चिमका बासिन्दा फेरि विशेषज्ञ स्वास्थ्य सेवा र मेडिकल शिक्षाको अवसरबाट वञ्चित हुन सक्ने जोखिम निम्तिएको बताए ।
प्रतिनिधिसभाका पूर्वसदस्य दीपकप्रकाश भट्टले मेडिकल विश्वविद्यालय निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा प्रतिष्ठान बनाउने कुरा पश्चगामी कदम भएको र त्यसमा सम्झौता गर्न नसकिने बताए । यता सरकारले पनि हाल एक सय शय्याको स्वीकृति दिएर गेटा अस्पतालका नाममा सुरु गराएर आलटाल गरेकोमा पनि स्थानीय बासिन्दा आक्रोशित छन् ।

Page 4
युवा ग्यालरी

देउडा जोगाउँदै खुलामञ्च

कर्णाली र सुदूरपश्चिमको मौलिक संस्कृति देउडा गीतमा मायाप्रेमसागै राजनीतिक र सांस्कृतिक विषयवस्तुमा आधारित भएर दुःख–पीडा पोखिादै
- तृप्ति शाही

(वीरेन्द्रनगर)
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्च । जहाँ दैनिक सैयौं मानिस ओहोरदोहोर गर्छन् । यहाँ बेलाबेला विभिन्न औपचारिक सभा/समारोह पनि आयोजना हुन्छन् । पछिल्लो समय भने खुलामञ्च कर्णाली र सुदूरपश्चिमको सांस्कृतिक पहिचान जोगाउने थलो पनि बनेको छ ।
हरेक महिनाको १ र १५ गते यहाँ देउडाप्रेमीको जमघट हुन्छ । प्रत्येक महिनाको दुई दिन झण्डै ३ हजारदेखि ५ हजारसम्म मानिस देउडा हेर्न खुलामञ्चमा पुग्ने गर्छन् । सहभागीमध्ये धेरैले देउडा नाच्छन् पनि । दुई/चार जना देउडा गायक–गायिका (देउडिया) सँगै गएका दर्शकले भाका मिलाउँछन् र नाच्छन् ।
दैलेखको महाबु गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेत वीरेन्द्रनगर झरेका ५७ वर्षीय पूर्णबहादुर रावत महिनाको १ र १५ गते जहिल्यै खुलामञ्चको देउडामा भेटिने गरेका छन् । सानैबाट देउडा हेर्दै र खेल्दै आएका उनलाई सहरमा बसाइँ सरेपछि देउडा प्रत्यक्ष रूपमा देख्न, खेल्न र हेर्न पाइन्न कि भन्ने पिर थियो । खुलामञ्चमा हुने देउडाले आफ्नो देउडाप्रतिको मोहको प्यास मेटाउने गरेको उनले बताए । त्यसैले आफू महिनाको दुई दिन देउडा हेर्न र खेल्नकै लागि खुलामञ्चसम्म आउने गरेको उनले सुनाए । ‘यसरी देउडा भएको ठाउँमा आउँदा आफ्नो संस्कृति जोगिन्छ, मनोरञ्जन हुन्छ र गाउँघरको झल्को पनि मेटाउँछ,’ उनले भने, ‘यहाँ आफन्त, इष्टमित्र र साथीभाइ पनि आउँछन्, उनीहरूसँग मायाप्रेम पनि साटिन्छ ।’ उनले नयाँ साथी बनाउने थलो पनि खुलामञ्च बनेको बताए । बुढापाकाहरूले पहिले सुनेको, खेलेको देउडा बुढेसकालमा पनि हेर्न, सुन्न र खेल्न पाउँदा आनन्द महसुस गरेको उनले बताए ।
बुढेसकाल लागेकाहरूका लागि खुलामञ्चमा हुने देउडा खेल मन भुलाउने थलो बनेको कालीकोटको मान्मबाट १० वर्षअघि वीरेन्द्रनगर बसाइँ सरी आएका ६० वर्षीय वीरजित खत्रीले बताए । उनका अनुसार खुलामञ्चमा आयोजना हुने देउडामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रमाउने गरेका छन् । ‘हामी त गाउँघरमा देउडा खेल्दै हुर्किएको मान्छे हो, बजारमा आउँदा पनि आफ्नो संस्कृतिको माया लाग्छ,’ उनले भने, ‘त्यसैले यहाँ आउन कहिल्यै छुटाउँदैनांैं ।’ कर्णाली र सुदूरपश्चिमको मौलिक संस्कृति देउडा गीतले पहिलेका दुःख–पीडा दर्शाउने र नयाँ सन्देश दिने गरेको उनले बताए ।
दैलेखको गुराँस गाउँपालिकाका लोकबहादुर शाही २०६४ सालबाट वीरेन्द्रनगरमा बस्दै आएका छन् । सुर्खेत झरेबाटै देउडाका लागि आफू खुलामञ्च पुग्ने गरेको उनले बताए । विभिन्न विषयवस्तुमा गायक–गायिकाले देउडा गाउने गरेको उनले बताए । माया प्रेमसँगै राजनीतिक र सांस्कृतिक विषयवस्तुमा आधारित भएर गाइने देउडा हेर्न अहिले १/२ दिन हिँडेरै पनि कतिपय वीरेन्द्रनगर आउन थालेको उनको भनाइ छ । स्थानीय अगुवा प्रेमप्रसाद आचार्यका अनुसार वीरेन्द्रनगरमा २०३५/३६ सालतिर रमाइलो मेला भनेर पीपल चौतारामा मेला लाग्ने गरेको थियो । त्यहाँ व्यापारसँगै कला र गला भएका कर्णाली र सुदूरपश्चिका विभिन्न जिल्लाबाट आएका मानिसले देउडा गाउँथे । त्यसयता बिस्तारै देउडाको प्रभाव बढ्दै गएको उनी बताउँछन् । ‘त्यसपछि मंगलगढी चोकमा मान्छेहरू यसरी नै भेला भएर देउडा गाउन र खेल्न थाले, पछि खुलामञ्चमा ठूलो जमघट भएर देउडा खेल्न थालिएको हो,’ ८२ वर्षीय उनले भने ।
१३ वर्षदेखि धेरै मान्छे जम्मा भएर देउडा खेल्न थालिएको देउडा गायक भानुप्रभात पाण्डेयले बताए । कालीकोट घर भएका उनी देउडा खेल्नका लागि हरेक महिना २ दिन वीरेन्द्रनगर झर्ने गर्छन् । कैलालीदेखि लिएर भारतसम्म पनि आफू देउडा खेल्नका लागि जाने गरेको उनले सुनाए । सुदूरपश्चिमका ९ वटै जिल्ला र कर्णालीका रुकुम पश्चिम र सल्यानबाहेक अरु जिल्लाको महत्त्वपूर्ण संस्कृति देउडा भएको उनले बताए । ‘सुर्खेत झरेका मान्छेहरू भनेका कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका छन्, पहाडबाट झरेका मान्छेसँगै देउडा सुर्खेतमा पनि आएको हो,’ उनले भने, ‘पहाडतिर भएको देउडा वीरेन्द्रनगरमा नभएपछि उताबाट यता सरेर आएकाहरूले सुरु गरेको देउडा अहिले नेपालभरि फैलिएको छ ।’
अहिले देउडा पारखीले यसको संरक्षणका लागि कर्णाली लोक तथा सांस्कृतिक मञ्च गठन गरेका छन् । मञ्चका अध्यक्ष बलिराम देवकोटाले वीरेन्द्रनगरमा देउडा खेल्न थालेपछि आसपासका जिल्लामा पनि देउडा मोह बढ्दै गएको बताए । ‘खस भाषाको सुरुवातसँगै देउडाको सुरुवात भएको मानिन्छ,’ उनले भने, ‘कर्णालीमा बच्चा जन्मदादेखि विवाहको रमाइलोसँगै देवीदेवताको पूजापाठसम्ममा देउडा खेलिन्छ ।’
देउडामा गाउनका लागि खुलामञ्च पुग्ने अर्की कलाकार हुन्– कालीकोटकी ४५ वर्षीया सुनसरा शाही । उनी भ्याएसम्म देउडामा सहभागी हुन खुलामञ्च आएकी हुन्छिन् र देउडाको अग्रपंक्तिमा हुन्छिन् । ‘पुरुषलाई भन्दा महिलालाई बाहिर आएर देउडा खेल्न असहज छ, घरपरिवार र समाजले साथ दिनुपर्छ,’ उनले भनिन्, ‘अहिलेसम्म सबैको साथ पाएकी छु, जसले देउडाप्रतिको समर्पण बढाइरहेको छ ।’ २०६० सालबाट खुला रूपमै देउडा खेल्ने गरेकी उनी बेलाबेलामा कर्णालीबाहेकका जिल्लामा पनि पुग्छिन् ।
अहिले खुलामञ्चमा युवाहरू पनि छुट्टाछुट्टै समूह बनाएर देउडा खेल्छन् । कालीकोटको मान्म घर भएर सुर्खेतमा पढ्न बसेका २८ वर्षीय तेज न्यौपानेले पनि मौका मिलेसम्म देउडा खेल्न आइरहने बताए । ‘म पढ्न यहाँ बसेको हुँ तर महिनाको २ दिन समय मिलाएर देउडा हेर्न आउँछु, साथीहरूसँग खेल्छु पनि,’ उनले भने, ‘रमाइलो लाग्छ, मनोरञ्जन हुन्छ, यसले आफ्नो संस्कृतिको संरक्षणमा पनि मद्दत पुगेको छ ।’ जुम्लाबाट पढ्नका लागि वीरेन्द्रनगर झरेका ३१ वर्षीय सुकबहादुर रेउलेलाई वीरेन्द्रनगरको देउडा हेर्दै गएपछि संस्कृति जोगाउनुपर्छ भन्ने लागेको छ । ‘यस्ता संस्कृति पुस्तान्तरण हुन जरुरी छ,’ उनले भने, ‘लय र सुर मिलाएर देउडा गाउन नजाने पनि यहाँ आउन थालेदेखि फुर्सदको समयमा साथीहरूसँग देउडा खेलेर रमाउँछु ।’
संस्कृतिविद् दुर्गाप्रसाद सापकोटाका अनुसार यसलाई देउडा भाका, देउडा गीत, लोक देउडालगायत नाम दिइएको छ । ‘देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो, यस गीतमा गरिएको नृत्यलाई देउडा वा न्याउले खेल भनिन्छ,’ उनले भने, ‘यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ ।’
स्थानीय भाषिकामा सिर्जित भई लोकप्रियता कमाएको देउडाले यस क्षेत्रभन्दा बाहिर पनि प्रभाव छोडेको उनले बताए । देउडा खेल र गायनको प्रक्रिया कर्णालीमा दसैं–तिहार, होली, विभिन्न मेला, पुतला, रत्यौली र विवाहमा प्रस्तुत गरिने उनले जानकारी दिए । यो गीतलाई एकल रूपमा पनि गाउन सकिने उनी बताउँछन् । ‘नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको बताइन्छ,’ उनले भने, ‘संस्कृत भाषाको देउदुराय शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको किंवदन्ती छ ।’ देउडा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले बर्सेनि साउन १ गते सार्वजनिक बिदा पनि दिने गरेको छ । सरकारले जनभावनाको कदर गरेर सार्वजनिक बिदा नै दिन थालेको कर्णाली प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसी बताउँछन् । ‘कर्णाली देउडाको धनी प्रदेश हो, कर्णालीमा देउडाप्रतिको मोह धेरै छ,’ उनले भने, ‘वर्षमा एक दिन भए पनि गरिएको सार्वजनिक बिदाले देउडा संस्कृति जोगाउने आशा छ ।’

युवा ग्यालरी

पहिलो जहाजको परीक्षण उडान

सन् १९०३ मा आजकै दिन

अमेरिकाका राइट दाजुभाइले सन् १९०३ मा आजकै दिन (डिसेम्बर १७)मा आफूद्वारा निर्मित जहाजको परीक्षण उडान गरेका थिए । नर्थ क्यारोलिना राज्यको किटीहक नजिक जहाजको सफल परीक्षण उडान गरिएको थियो । मोटर जडित हवाई जहाजको यो नै पहिलो उडान थियो । ‘राइट फ्लायर’ जहाजलाई भाइ ओर्विल राइटले उडाएका थिए । दाजु विल्बरले जमिनबाटै निर्देशन दिएका थिए । अमेरिकामा यो दिनलाई ‘राइट ब्रदर्स डे’ का रूपमा मनाइन्छ । जहाज आविष्कार गर्न उनीहरूले आफूले गर्दै आएको साइकलको व्यवसाय नै बेचेका थिए ।

युवा ग्यालरी

दुर्गमले दबिएको सुमधुर स्वर

- डीबी बुढा

(जुम्ला)
डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्रा । यही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा चिन्छन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छैनन्, न त उनको गीत इन्टरनेटको दुनियाँमा भेटिन्छ । अहिलेसम्म उनको स्वरको तारिफ चोत्रा गाउँमै सीमित छ ।
१० कक्षा पढ्दापढ्दै १७ वर्षमा बिहे गरेकी तेजआङ्मु आफूले हिँडेको दुःखको यात्रा गीत बनाएर गुनगुनाउँछिन् । स्कुलमा पढुन्जेल मञ्चहरूमा उनको स्वर गुन्जिन्थ्यो । स्कुल छुटेसँगै दुनियाँले तेजआङ्मुको स्वर सुन्नुपर्‍यो भनेर सम्झिने मञ्चहरू पनि छुटे । त्यसपछि उनले वनपाखा, खोला किनारलाई मञ्च बनाइन् । दुःख र वेदनाका गीतहरू गुनगुनाउन थालिन् । उनी हिजोआज घाँसदाउरा र स्याउलापात गर्ने बेलामा मन बहलाउन गीत गाउँछिन् ।
उनको जीवनमा दुःखमाथि दुःखको खात लागेजस्तो लाग्छ । माइतमा उनका बुबा र आमा दुवै अपांगता भएका छन् । ससुरा अपांगता भएका थिए, गत वैशाखमा खुट्टा भाँच्चिएर राम्ररी उपचार नहुँदा सासू पनि हिँडडुल गर्न नसक्ने भएकी छन् । ‘माइत र घर दुवैतिर उस्तै छ । जता सम्झ्यो बैरागमात्रै लाग्छ,’ उनले भनिन्, ‘रुवाइ छुट्छ । जीवनमा निराशाको घनघोर बादल मडारिरहेजस्तो लाग्छ । अनि पीर भुलाउन गाउँछु ।’
तेजआङ्मुका श्रीमान् भारतमा व्यापार गर्थे । व्यापारमा डुबेपछि उनी यार्चाको कारोबारमा लागे । त्यसमा पनि घाटा खाए । तेजआङ्मुले ऋणको भारीले परिवार नै दुःखमा परिरहेकाले आफ्नै खर्चले गीत रेकर्ड गर्ने सम्भावना नभएको र ऋण थपेर गीत रेकर्ड गर्ने आँट नआएको सुनाइन् । ‘ऋण तिरेर सकिन्जेल स्वरले साथ दिएछ भने मनको धोको पूरा होला,’ उनले भनिन्, ‘नभए यत्तिकै हुने भयो ।’
उनी अरूले गाएको सुनेर दुरुस्तै गाउन सक्छिन् । कहिलेकाहीं ती लयमा आफ्ना शब्द हालेर पनि गाउँछिन् । पुस्तान्तरण हुँदै आएका शब्दहरू उनले पनि टिपेर राखेकी छन् । तिनमा लय हालेर गीत रेकर्ड गराउने उनको धोको पूरा हुन्छ/हुँदैन उनी आफैंलाई थाहा छैन । तर, चोत्रागाउँदेखि मनिसांगुसम्मका वनपाखाले उनको स्वर रेकर्ड गरिरहेका छन् ।
गुठीचौर गाउँपालिका–१ चोत्राका वडाध्यक्ष अर्जुनकुमार महताराले उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगको खोजी भइरहेको बताए । ‘तेजआङ्मुको स्वर दुनियाँलाई सुनाउन जरुरी छ,’ उनले भने, ‘उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगी मन भएकाहरूबाट सहयोग हुने विश्वास लिएको छु ।’

Page 5
समाचार

त्रिविको पदक र पुरस्कार पाउनेमा छात्रा धेरै

पदक पाउने विद्यार्थीको नाम पहिले सार्वजनिक गर्ने र पछि सूची हेरफेर गर्ने त्रिविको लापरबाही पुनः दोहोरियो
- सुदीप कैनी

(काठमाडौं)
त्रिभुवन विश्वविद्यालयको स्नातक, स्नातकोत्तर र एमफिल तहमा २०७७ र २०७८ सालमा सर्वोत्कृष्ट नतिजा ल्याएर पदक–पुरस्कार पाउनेमा छात्राको संख्या धेरै रहेको छ । सोमबार दशरथ रंगशालामा हुने त्रिविको ४९ औं दीक्षान्त समारोहमा २७ वटा पदक र पुरस्कार वितरण हुँदै छ । त्यसमा १६ वटा छात्राहरूले मात्रै पाउँदै छन् । तीमध्ये एकै छात्रले ३ पदक र पुरस्कार पाउँदै छन् भने ५ जनाले २/२ पदक र पुरस्कार हात पार्नेछन् । पाँचमध्ये पनि २/२ वटा पदक र पुरस्कार पाउने ४ जना छात्रा हुन् ।
त्रिविले दीक्षान्त समारोहमा एमए अर्थशास्त्रमा सर्वप्रथम एक छात्रलाई ३ वटासहित र स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट ५ जना छात्रछात्रालाई २/२ पदकसहित पुरस्कृत गर्ने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार अर्थशास्त्र केन्द्रीय विभागका छात्र कपिल पोखरेलले ३ वटा पदक र पुरस्कार पाउँदै छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ५ छात्रछात्राले २/२ पदक पाउने जनाए । व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा ४ मा ४ जीपीए ल्याउने छात्र किशोरकुमार गौतमले त्रिवि प्राध्यापक संघका सहिद उपप्राध्यापक ‘हरिराज अधिकारी स्वर्ण पदक’ पाउँदै छन् । उनले २०७८ सालको दीक्षान्त पदक पाउने कार्यालयले जनाएको छ । तीन पदक पाउने पोखरेलले एमए अर्थशास्त्रमा ३.७७ जीपीए प्राप्त गरेका थिए । उनले तारापद चौधरी, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाउँदै छन् ।
स्नातकोत्तरतर्फ २०७७ सालको पदक वितरण हुनेछ । ख्वपः कलेज भक्तपुरबाट एमए अंग्रेजी साहित्यमा सर्वप्रथम पलिस्था रञ्जितकारले २ पदक पाउँदै छिन् । ३.९१ जीपीए प्राप्त उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखें स्वर्ण पदक पाउने कार्यालयले जनाएको छ । एबीएस परीक्षामा सर्वप्रथम ममता सापकोटाले दुई पदक र पुरस्कार प्राप्त गर्ने भएकी छन् । बालकुमारी कलेज चितवनकी छात्रा उनले ३.८७ जीपीए ल्याउँदै रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार र नबिल बैंक सरदार गुञ्जमान सिं स्वर्ण पदक हात पार्दै छिन् । राजनीतिकशास्त्र केन्द्रीय विभागबाट एमएमा सर्वप्रथम अविनभ आचार्यले ललित चन्द पुरस्कार र बडाकाजी मरिचमान सिंह पदक प्राप्त गर्नेछन् । उनले राजनीतिकशास्त्र विषयमा ३.८२ जीपीए प्राप्त गरेका थिए । हिमांशु दाहाल स्मृति पुरस्कार र शिल्पा बिष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार यसपालि शर्मिला रिजालले पाउने भएकी छन् । उनी शिक्षाशास्त्र संकायकी छात्रा हुन् । रिजालले ३.५६ जीपीए प्राप्त गर्दै एमएड तहमा गणित विषयमा सर्वप्रथम हुँदै उक्त तहमा छात्राहरूमध्येबाट पनि सर्वोत्कृष्ट बनेकी थिइन् ।
अमृत पदक भने ३.९५ जीपीए ल्याउने छात्र हिक्मत खनालले प्राप्त गर्ने भएका छन् । रसायनशास्त्र केन्द्रीय विभागबाट एमएस्सीमा उनी सर्वोत्कृष्ट बनेका थिए । वातावरण केन्द्रीय विभागकी सुष्मा तिम्सिनाले मदनविद्या वातावरण विज्ञान पुरस्कार र पदक हात पार्दै छिन् । उनले एमएस्सी वातावरण विज्ञानमा ३.८४ जीपीए प्राप्त गरेको कार्यालयले जनाएको छ । शान्ति नारायण मिश्र पदक पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागबाट ३.९२ जीपीए ल्याउने अन्जु श्रेष्ठले पाउँदै छिन् । जैविक प्रविधि केन्द्रीय विभागबाट विनोद खड्काले ३.८९ जीपीए प्राप्त गरेर सर्वप्रथम बन्दै डा. रेखा लक्षमैया श्रीराम स्वर्ण पदक ग्रहण गर्दै छन् । अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति विषयमा ३.७९ जीपीए ल्याउने रिकेश महर्जनले डा. दुबसु क्षत्री स्वर्ण पदक पाउने कार्यालयले सार्वजनिक गरेको पदक सूचीमा उल्लेख छ । वनस्पतिशास्त्र विषयमा केन्द्रीय विभागबाट छात्रा दीपा पनेरुले पदक पाउनेछिन् । उनले ३.७७ जीपीए प्राप्त गर्दै इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक पाउने भएकी हुन् । समाजशास्त्र केन्द्रीय विभागबाट सोही विषयमा सर्वप्रथम दिलासा श्रेष्ठले सुमन रिजाल पदक हात पारेकी हुन् । उनले समाजशास्त्रमा ३.७६ जीपीए ल्याएको उल्लेख छ ।
स्नातकतर्फ २०७८ सालको पदक वितरण गर्न लागिएको हो । मानविकी संकायतर्फ ३ वर्षे बीए (स्नातक तह) मा सर्वप्रथम भएकी अस्मिता घिमिरेले पनि दुई पदक र पुरस्कार हात पार्दै छिन् । हेराल्ड इन्टरनेसनल कलेजबाट उनले ७७.७९ जीपीए प्राप्त गरेकी थिइन् । स्नातक तहको परीक्षामा सर्वोत्कृष्ट अस्मिता गैरेले भाइस चान्सलर पदक पाउने त्रिविले जनाएको छ । पक्लिहवा क्याम्पस भैरहवाबाट उनले २०७८ को परीक्षामा ८८.२५ प्रतिशत अंकसहित विशिष्ट श्रेणी सफलता प्राप्त गरेकी थिइन् । व्यापार प्रशासन (बीबीए) मा ३.९५ जीपीए प्राप्त गर्दै सर्वप्रथम आरती सिम्खडाले पनि पदक पाउँदै छिन् । शंकरदेव क्याम्पसकी छात्रा सिम्खडाले भ्याइथ सत्य माँ स्मृति स्वर्ण पदक जितेकी हुन् । होटल म्यानेजमेन्ट (बीएचएम) मा सर्वप्रथम गोल्डेनगेट इन्टरनेसनल कलेजका छात्रा सरिता खड्की (३.९३) जीपीएले प्रितम चित्रकार पुरस्कार पाएकी छन् । कानुन (बीएलएलबी) मा ३.६८ प्राप्त प्रितम घिमिरेले लोकराज ज्ञवाली स्वर्ण पदक पाएका छन् । उनी नेसनल ल कलेजका विद्यार्थी हुन् । बीई सिभिल इन्जिनियरिङमा सर्वप्रथम पुल्चोक क्याम्पसका छात्र आरोश दाहालले ८६.३२ प्रतिशत ल्याई शिवराज पन्त स्मृति पुरस्कार प्राप्त गरेका छन् । बीएडमा महिलातर्फ सर्वप्रथम मनुषा चौलागार्इं (६८.५० प्रतिशत) ले सुशीलादेवी शर्मा पुरस्कार पाउने कार्यालयले जनाएको छ । उनी सानोठिमी बहुमुखी क्याम्पसकी छात्रा हुन् ।
यस पटक कुलपति पदक र इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक भने वितरण नहुने भएको छ । परीक्षा नियन्त्रक जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी पहिचान गर्न नसकिएकाले कुलपति पदक वितरण नगर्ने निर्णय भएको जनाए । उक्त पदक त्रिविका ९ वटा संकायमध्येबाट सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई दीक्षान्त समारोहमा प्रदान गरिँदै आएको थियो । त्रिवि कार्यकारी परिषद्ले नै कुलपति पदक वितरण नगर्ने निर्णय गरेको छ । इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक भने समान अंक ल्याउने ४ जना विद्यार्थी भएकाले यो वर्ष वितरण गर्न नसकिने अवस्था आएको जोशीले बताए । त्यस्तै, एमए अंग्रेजी साहित्यमा सर्वप्रथम सारा महर्जनलाई दिने भनिएको पदक र पुरस्कार पलिस्था रञ्जितकारलाई प्रदान गर्ने कार्यालयले जनाएको छ । महर्जनले प्राप्त गरेको (३.८५) जीपीएभन्दा रञ्जितकारले बढी (३.९१) जीपीए ल्याएकाले सार्वजनिक सूची संशोधन गर्नुपरेको जोशीले बताए ।
पदक र पुरस्कार पाउने विद्यार्थीको नाम पहिले सार्वजनिक गर्ने र पछि उक्त विद्यार्थीले पदक र पुरस्कार नपाउने भन्दै सूची हेरफेर गर्ने त्रिभुवन विश्वविद्यालयको विगतकै लापरबाही पुनः दोहोरिएको छ । प्रारम्भिक र अन्तिम सूची गत साताको गोरखापत्रमा प्रकाशित गरिएको थियो । पदक र पुरस्कृत विद्यार्थीको सूची हेरफेर गरिएकामा विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।

समाचार

निजगढमा प्रदर्शन जारी

सिम्रौनगढ गोली काण्ड

बारा (कास)– प्रहरीले चलाएको गोलीबाट युवकको मृत्यु घटनालाई लिएर उनका आफन्त र नगरवासीले तेस्रो दिन पनि निजगढमा प्रदर्शन जारी राखेका छन् । घटनाको छानबिनसहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने लगायत माग राखी उनीहरूले पूर्व–पश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरिराखेका छन् ।
निजगढमा शनिबार २ बजेदेखि राजमार्ग ठप्प पारी टायर बालेर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा स्थानीय नगरवासी, मृतकका आफन्त, कांग्रेसका वहालवाला र पूर्वजनप्रतिनिधि, नेता, कर्मचारी, शिक्षकहरू छन् । सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीको गोली लागी सिम्रौनगढ–१ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो । उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि आफन्तले शव बुझेका छैनन् ।
प्रदर्शनकारीले मुख्यमन्त्री सरोज यादव र मेयर किशोरी साह कलवारको राजीनामा, मृतकलाई क्षतिपूर्ति, गोली चलाउन आदेश दिने प्रहरी निरीक्षक रविभूषणमाथि कारबाही, मुख्यमन्त्री यादवको फोनको कल ट्रेस गर्न माग गरेका छन् । मुख्यमन्त्री र मेयरको उक्साहटमा प्रहरीले गोली चलाएको प्रदर्शनकारीको आरोप छ ।
सिम्रौनगढ नगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई मेयर साहले हाजिर गराउन खोजेपछि पाँच महिनादेखि नगरपालिकाको मूलद्वारमा तलब नपाएर आन्दोलनमा रहेका शिक्षक कर्मचारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । नगरपालिकामा नगरसभा हुन सकेको छैन । नगर अस्पताल महिनौंदेखि र विद्यालयहरू सातादेखि बन्द छन् ।

Page 6
दृष्टिकोण

बोली लोकतान्त्रिक, व्यवहार हैकमवादी

गणतन्त्र संस्थागत गर्न विघटित राजतन्त्रविरुद्ध मोर्चाबन्दी जरुरी छैन । केवल देशको बागडोर सम्हालेका नेताहरू बदल्न आवश्यक छ ।
- माधवी भट्ट

नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्बहाली भएको ३३ वर्ष र गणतन्त्र भित्रिएको १७ वर्ष भइसकेको छ । अझै पनि समृद्ध देश र उन्नत लोकतन्त्रको ‘रोडम्याप’ बन्न सकेको छैन, बरु गणतन्त्र जोगाउने वा राजतन्त्र ब्युँताउने जस्तो निरर्थक बहसमा देश र जनता अल्झिरहेका छन्, जुन दुर्भाग्यको विषय हो । गणतन्त्रका नाममा लोकतन्त्रको चीरहरण गर्दै अकूत सम्पत्ति कुम्ल्याउने र आफ्ना ‘चाकरीबाज’ हरूलाई सत्तामा पुर्‍याउने नेताहरू नै लोकतन्त्रका लागि मुख्य चुनौती बनेका छन् । लोकतन्त्र सिद्धान्त मात्र होइन, जीवन पद्धति पनि हो । हाम्रा नेताहरूको मुख लोकतान्त्रिक छ भने व्यवहारचाहिँ पूर्ण रूपले हैकमवादी, सामन्ती र अधिनायकवादी छ । यही कारण राजतन्त्रका मृतप्रायः अवशेषहरूले मुन्टो उठाउन खोजिरहेका हुन् ।
पञ्चायतका नाममा ३० वर्ष जनताको न्यूनतम अधिकारसमेत कुण्ठित गरेको राजतन्त्रलाई २०४७ सालको संविधानले पर्याप्त अधिकार नदिए पनि सम्मान र सुविधा दिएको थियो । संविधानको परिधि नाघेर सक्रिय हुन खोज्दा राजसंस्थाको विनाश र विघटन हुन पुगेको हो । विघटित र प्रतिष्ठारहित राजतन्त्रको वकालत गर्नेहरूको आत्मबल अमुक कारणले बढेको होइन, कुशासन र चरम भ्रष्टाचारले वृद्धि भएको हो । अझ भन्नुपर्दा, गणतान्त्रिक शासकहरूको कुकर्मले हो । त्यसैले गणतन्त्र संस्थागत गर्न विघटित राजतन्त्रविरुद्ध मोर्चाबन्दी जरुरी छैन । केवल देशको बागडोर सम्हालेका नेताहरू बदल्न आवश्यक छ ।
भनिन्छ, स्वतन्त्रता पनि आफैंमा स्वतन्त्र हुँदैन । बलिदान र संघर्षको आलोकमा स्वतन्त्रता प्राप्त हुन्छ र यसलाई जीवन्त राख्न पनि निरन्तर त्याग र संघर्ष नै गर्नुपर्छ । नेपालका नेताहरूले लोकतन्त्रलाई जसरी पनि टिक्ने सस्तो शासन प्रणाली ठानेका छन् । परिणामतः प्रतिगमनको कालो बादल लोकतन्त्रको वरिपरि मडारिएको छ । नेताहरूले लोकतन्त्रलाई कसरी विपथीकरण गरेका छन् भन्ने बुझ्न लामो कष्ट गर्नपर्दैन, पछिल्लो आम निर्वाचन र त्यसपश्चात् सत्ता सञ्चालनमा रहेका प्रमुख र वैकल्पिक राजनीतिक दलहरूका गतिविधिको पुनरवलोकन र समीक्षा गर्‍यौं भने पुग्छ । नेताहरूले नियमित रूपमा लोकतन्त्रलाई मूल्यहीन बनाएको प्रतीत हुन्छ । देशमा जसरी शासन चलिरहेको छ, त्यो लुटतन्त्र हो भन्ने प्रस्ट हुन्छ ।
आम निर्वाचनको पुर्वसन्ध्यामा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले विचार र सिद्धान्तलाई तिलाञ्जलि दिएर चुनावी गठबन्धन गरेका थिए । कांग्रेस माओवादीसँग गठबन्धन गरेर चुनावमा होमिनु अप्राकृतिक, अनैतिक र अपवित्र मात्र थिएन, सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना हजारौं कार्यकर्ताको रगतमाथि गरिएको बेइमानी र धोका पनि थियो । गठबन्धनको बलमा कांग्रेसले एक थान उपप्रधानमन्त्री र केही थान मन्त्री पद पाएको छ । तर खासमा भने उसले आफ्नो अस्तित्व निमिट्यान्न पारेको छ, फेरि जगाउन हम्मेहम्मे पर्ने गरी ।
यति बेला राजतन्त्रविरुद्ध निकै आक्रामक देखिएको एमालेले राजसंस्थालाई काँधमा बोकेका राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपासँग चुनावी गठबन्धन गरेको थियो । परिणामतः अहिले एमालेको राजतन्त्रविरोधी हुँकारलाई जनताले कुनै महत्व दिएका छैनन् । राजतन्त्रको हिमायती राप्रपासँग एमालेले गठबन्धन गर्दा प्रतिगमन नहुने तर दुर्गा प्रसाईले बोल्दा प्रतिगमन हुने ? पक्कै पनि लोकतन्त्रले यस्तो दोहोरो मापदण्ड स्वीकार गर्दैन ।
त्यति मात्र होइन, कांग्रेसलगायतका दलहरूसँग चुनावी गठबन्धन गरेर संसद्मा ३२ सिट जितेको नेकपा (माओवादी केन्द्र) ले तत्काल प्रधानमन्त्री पद नपाउने भएपछि एमालेलगायतका दलहरूसँग सहकार्य गरेर पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्‍यो । नयाँ सरकार गठन भएको डेढ महिना पुग्दा–नपुग्दै माओवादी पुनः कांग्रेससँगकै गठबन्धनमा फर्कियो । के यो लोकतन्त्रका लागि स्वीकार्य गतिविधि थियो ?
सुशासन र वैकल्पिक राजनीतिको नारा दिएको रास्वपाले त झन् एक थान उपप्रधानमन्त्री र केही थान मन्त्री पदका लागि जनतामा निराशा नै उत्पन्न गरायो । सुशासनको नारा दिएर नथाक्ने राप्रपा पनि एक थान उपप्रधानमन्त्रीकै लागि सत्ताको बैसाखी बन्न पुग्यो । कांग्रेस र एमालेसँगको अलगअलग गठबन्धनका नाममा आम निर्वाचनपछिको लामो समय सरकार गठन र भागबन्डाको अंकगणितमै बित्यो । लोकतन्त्र सुदृढ बनेको भए करिब ६ महिनाको तदर्थ सरकार रहने थिएन । आवधिक निर्वाचनपछिको लामो संक्रमणलाई जनताले स्विकार्ने थिएनन् ।
पुराना र नयाँ सबै राजनीतिक पार्टी र नेताहरूको मुख्य एजेन्डा भ्रष्टाचारको विरोध गर्नु हो, तर उनीहरू नै भ्रष्टाचारलाई सिरानी हालेर सुतेका छन् । छोटो समय गृह मन्त्रालय सम्हाल्दा नै रास्वपाले नीतिगत भ्रष्टाचारमा पुराना दलहरूलाई उछिन्ने गरी गति लिएको थियो । भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह हो भनेर उपप्रधानमन्त्रीको ‘शपथ’ लिएका राप्रपा अध्यक्ष लिङदेनले भ्रष्टाचार मुद्दामा आरोपित ठेकेदार विक्रम पाण्डेलाइ मन्त्री बनाएका थिए त्यति बेला ।
नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड, एनसेल काण्ड लगायतका काण्डैकाण्डको घेरामा छ दाहाल सरकार । सबै काण्डमा तिनै व्यक्तिहरू जोडिएका छन् जसलाई कारबाही गर्‍यो भने सरकार तासको घरझैं ढल्ने देखिन्छ । भ्रष्टाचारीलाई डाम्ने र जोगाउने नौटंकी एकसाथ गरिरहेको छ सरकारले । नक्कली भुटानी शरणार्थी काण्डले मानव बेचबिखनको डरलाग्दो तथ्य र तस्बिर नेपाली जनतासामु प्रस्तुत गर्‍यो । नेपाली जनताले लोकतन्त्रका पर्याय ठानेका दल र नेताहरू भ्रष्टाचारमा मात्र होइन, मानव तस्करीको डरलाग्दो जालोमा समेत जोडिए । निराशा, भय र अनिश्चयको घेरामा रहेका जनताले यस पटक निष्पक्ष छानबिन हुने र आरोपितहरू दण्डित हुने झिनो अपेक्षा गरेका थिए । विडम्बना, गृह मन्त्रालयले अपूर्ण र शंकास्पद रूपमा छानबिन प्रक्रियालाई अघि बढायो ।
प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरू छानबिनलाई निस्तेज पार्न कोठे बैठकमा एकमत भए । अनुसन्धानमा संलग्न प्रहरी र न्यायाधीशलाई तेजोवध गर्दै सरुवा गरियो । कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वमाओवादी तथा हाल एमाले नेता टोपबहादुर रायमाझीलाई पक्राउ गरियो भने यथेष्ट प्रमाण हुँदाहुँदै पनि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ एवं पूर्वगृहसचिव र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष प्रेमकुमार राईलाई अनुसन्धानको दायरामै ल्याइएन । किनकि उनीहरूसम्म छानबिनलाई अघि बढाउँदा कांग्रेस, एमाले र माओवादी तीनै दलका शीर्ष नेताहरूको खोपीभित्र पनि पुग्नुपर्ने अवस्था टड्कारो देखिएको थियो ।
सुन तस्करीलाई उसै गरी छानबिनको घेराबाट बाहिर निकालिएको छ । बितेका १० वर्षमा ७ क्विन्टल सुन तस्करी हुँदासमेत सक्कली अपराधीसम्म पुग्ने गरी छानबिन हुँदैन भने त्यसमा राजनीति र प्रशासनको नै संलग्नता छ भन्ने बुझिन्छ । भरियाका रूपमा प्रयोग भएका भेडागोठाला र ज्यालादारी गर्ने मजदुरलाई दोषी देखाएर मुख्य तस्करलाई चोख्याउने अपराध गरिरहेको छ राज्य संयन्त्रले । जनताले बुझिसके, ती मुख्य तस्करको लहरो तीनै पार्टीका शीर्ष नेतासम्म छ भन्ने । हालै एनसेलको सेयर अपारदर्शी रूपमा किनबेच भएको घटना सार्वजनिक हुँदासमेत त्यसलाई सामसुम पार्ने तयारी हुँदै छ । किनकि त्यसमा प्रधानमन्त्रीकै परिवारको संलग्नता भएको समाचार बाहिरिन थालेको छ । यस्तो अवस्थामा वर्तमान नेताले लोकतन्त्रको संरक्षण र संवर्धन गर्छन् भनेर विश्वास गर्ने ?
ठूला अपराधमा जोडीएका सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वव्यापी रूपमा अनुगमन गर्ने संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) ले गत नोभेम्बरमा पत्र पठाई विद्यमान कानुनी सुधार, सम्पत्ति शुद्धीकरण र ठूला आर्थिक अपराधमा संलग्नलाई कारबाही नगरे नेपाललाई वित्तीय जोखिमयुक्त मुलुक (ग्रे जोन) मा पार्ने चेतावनी पनि दिइसकेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो रिपोर्टमा नेपाल ११० औं स्थानमा छ ।
यी अन्तर्राष्ट्रिय चेतावनीका बाबजुद भ्रष्टाचारको दलदलमा फसेका राजनीतिक दल र सरकारले सुशासन र त्यहीअनुसारको सेवाप्रवाह दिने कल्पना पनि गर्न सकिँदैन । यसको ज्वलन्त उदाहरण जनप्रतिनिधिहरू रहने संसद्लाई नै लिन सकिन्छ । लामो समयदेखि नेपालको संसद् राजनीतिक दलका शीर्ष नेताहरूको बन्धक बनेको छ । सांसदहरू राज्यको साधनस्रोतको दुरुपयोग गर्ने संयन्त्र बनेका छन् । सत्ताका लागि जन्मकैदको सजाय पाएका जघन्य हत्याका आरोपितको मुद्दा फिर्ता लिने सौदाबाजी गरिन्छ । सांसदहरू स्वतन्त्र रूपमा आवाज उठाउन सक्दैनन् भने यो गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्दैन ?
देशमा रोजगारीको अवसर छैन । हमासको आक्रमणबाट बल्लतल्ल बाँचेर फर्किएका नागरिकहरू रोजगारीका लागि पुनः इजरायल फर्किएका छन् । रुस–युक्रेन युद्धमा लड्न प्राणको बाजी थापेर रुसी सेनामा भर्ती भएकाहरू एकपछि अर्को गर्दै मारिएका समाचारहरू आइरहेका छन् । व्यवसायीहरूका लागि लगानीको सुरक्षित वातावरण छैन । शिक्षितहरूका लागि अवसर छैन । पार्टीका र राज्यको हरेक नियुक्तिमा श्रीमती, प्रेमिका, छोरा, भतिजा र झोले कार्यकर्ताबाहेक अरुले अवसर पाउँदैनन् । मेरिटोक्रेसीको मजाक उडाइन्छ । देशमा अहिले जुन शासन चलिरहेको छ, त्यसलाई लुटतन्त्र नभनेर कसरी लोकतन्त्र झन्न सकिन्छ ?

[email protected]

सम्पादकीय

नागरिकको आवाज निषेध गर्ने आत्मघात

संघीय राजधानी काठमाडौंमा केही स्थान तोकेर सरकारले निषेधाज्ञा लगाएको छ । लोकतन्त्रमा शान्तिपूर्वक भेला, सभा, जुलुस, धर्ना वा प्रदर्शन गर्न पाउने नागरिकका अधिकार मात्र होइनन्, राज्यलाई सजग बनाउने जिम्मेवारीभित्रकै उपक्रम हुन् । लोकतन्त्रलाई जीवन्त राख्न नागरिकका आधारभूत अधिकार संविधान र कानुनबाट नै सुरक्षित गरिएको हुन्छ । तर, सरकारले माइतीघरमा एक महिना र ललितपुरमा ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । यसले शान्तिपूर्वक भेला हुन पाउने, आफ्ना असन्तुष्टि वा आवाज व्यक्त गर्न पाउने नागरिकको संवैधानिक अधिकारसमेत हनन भइरहेको छ । अझ लोकतन्त्रको यही मर्म स्मरण गराउन खोज्दा नागरिक अभियन्ताहरूलाई नै धरपकड गरेर राज्यले निरंकुश चरित्र प्रदर्शन गरेको छ ।
पछिल्लो समय नागरिकले समस्या वा माग राज्यलाई सुनाउने, विरोध जनाउने र खबरदारी गर्ने थलोका रूपमा माइतीघर स्थापित छ । आफ्नो आवाज राख्ने अर्को उपयुक्त थलो नभएकाले पनि नागरिक माइतीघर आइपुग्ने गर्छन् । अझ, मुलुकको सर्वोच्च न्यायिक निकाय र राज्य शक्तिको केन्द्र सिंहदरबार माइतीघरबाट नजिकै छन् । तर त्यही ठाउँमा जिल्ला प्रशासन कार्यालयले मंसिर ४ देखि ३० दिनसम्म अनशन, प्रदर्शन, सभा गर्न रोक लगाएको छ । यो निषेध माइतीघरदेखि बानेश्वरसम्म छ । त्यस्तै पुल्चोक आसपास क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा जारी गरिएको छ ।
एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ का लागि कार्यक्रमस्थल जुधाएपछि झडप हुने आकलनमा ती क्षेत्रलाई निषेध गरिएको थियो । राजनीतिभन्दा पर अराजनीतिक गतिविधि हुने अवस्थामा व्यक्तिगत वा सार्वजनिक प्रतिष्ठा वा सम्पत्तिको सुरक्षार्थ छोटो अवधिका लागि निषेधाज्ञा लगाउने अभ्यास चल्दै आएको छ । कुनै दुई समूह आमनेसामने हुने अवस्था आएको भन्दै सरकारले लगाएको निषेधाज्ञा महिनौंसम्म जारी रहनुको कारण के हो ? जबकि दुवै समूह आआफ्ना स्थान र अभियानमा लागिसकेका छन् । यसले एमाले र दुर्गा प्रसाईंका नाममा निषेधाज्ञा लगाएर अरू सर्वसाधारणको आवाज बन्द गर्न खोजिएको प्रस्ट भएको छ ।
मिटरब्याजपीडित, सहकारी तथा लघुवित्तबाट पीडित, बलात्कार तथा यौनहिंसाबाट पीडित, दाइजो बहानामा हत्याहिंसाबाट पीडित समूहका लागि माइतीघर निकै ठूलो मञ्च भएको थियो, जसले सरकारका लागि दबाब पनि सिर्जना गर्दै आएको थियो । यी आवाज सुनेर समस्या सम्बोधन गर्ने होइन, माइतीघरको मञ्च नै बन्द गर्ने उद्देश्यले सरकारले निषेधाज्ञा लम्बाएको छ । माइतीघर आसपासलाई निषेधित क्षेत्र तोकिएपछि त्यहाँ धर्नारत व्यक्ति/समूहलाई रत्नपार्कस्थित शान्तिवाटिका सारिएको छ । सार्वजनिक ठाउँमा कहाँ प्रदर्शन गर्न पाउने र नपाउने भनेर सरकारले पहिले नै सूची जारी गर्ने शैली नै अलोकतान्त्रिक हो । जबसम्म धर्ना वा प्रदर्शन शान्तिपूर्ण हुन्छ, नागरिकलाई बन्देज लगाउने अनुमति सरकारलाई संविधानले नै दिएको छैन । त्यसमाथि प्रहरीले प्रदर्शनकारीलाई शान्तिवाटिका पनि छाडेर जान दबाब दिन थालेको छ । यसले खबरदारी र विरोधका आवाजलाई सम्बोधन होइन, निषेध गर्ने सरकारको मनसुबा प्रस्ट्याउँछ ।
समस्या जुन निकायसँग छ, त्यहींबाट तत्कालै प्रभावकारी सुनुवाइ हुने पद्धति भए माइतीघरमा धाउने कष्ट कसैले पनि गर्दैनथ्यो । केन्द्रमा आइपुगेका नागरिकका समस्या वा मागलाई सम्बोधन गर्न तत्काल पहलकदमी लिने हो भने कसैले पनि महिनौं धर्ना बसिरहनुपर्दैनथ्यो, माइतीघरमा भीड लाग्दैनथ्यो । नागरिकका आवाज सुनेर निर्णय पद्धति र सेवा प्रवाह प्रभावकारी बनाउनतिर लाग्नुपर्नेमा राज्यले आवाजलाई थुन्न खोज्नु दुःखद छ । स्वतन्त्रपूर्वक विचार र अभिव्यक्ति राख्न पाउने, शान्तिपूर्वक भेला हुन पाउने नागरिकको अधिकार कुण्ठित पार्न मिल्दैन । काठमाडौं र ललितपुर जिल्ला प्रशासनले केही क्षेत्रमा लगाएको निषेध तत्काल अन्त्य गर्नुपर्छ ।
आधार र कारणबेगर शान्तिपूर्ण भेला तथा प्रदर्शन नियन्त्रण गर्नु असंवैधानिक हुने विवेचना सर्वोच्च अदालतले पनि दोहोर्‍याइसकेको छ । तर, निषेधाज्ञा लगाएर राज्यले अराजकता होइन, राजनीतिक र नागरिक प्रश्नहरूमा बन्देज लगाउन खोजेको छ । निषेध हटाउनुपर्ने मागसहित शुक्रबार भद्रकालीबाट माइतीघरतर्फ बढेका अभियन्तालाई नियन्त्रणमा लिनुले त्यसलाई थप पुष्टि गर्छ । तर, राज्यले नागरिकका माग र समस्याबाट तर्कन मिल्दैन, उनीहरूको विरोध वा खबरदारीलाई बेवास्ता गर्ने अधिकार उसलाई छैन । आफूहरूकै मतबाट चुनिएका प्रतिनिधिले शासन सञ्चालन गर्ने व्यवस्थामा आशा, अपेक्षा र विश्वास भएरै उनीहरूले माग राख्न र समस्या सुनाउन चाहिरहेका हुन्छन्, खबरदारी गरिरहेका हुन्छन् । हो, फरकफरक समयमा आएका फरकफरक शासकले नागरिक आवाजमाथि वैरभाव राख्ने गरेका छन् । तर, नागरिक आवाजलाई निषेध गरेर संसार र नेपालमा पनि कुनै पनि शासन सुरक्षित भएको छैन । अहिलेको शासनले पनि त्यस्तो अभ्यास गर्नु आत्मघाती कदम हो, हैकम चलाउन खोज्ने पूर्ववर्ती जुनसुकै शासकको पृष्ठभूमिबाट पनि सरकारले सिक्नुपर्छ ।

सम्पादकलाई चिठी

कसले बुझ्ने हाम्रो पीडा ?

महिला हुँ, महिलाको पीडालाई राम्रोसँग बुझ्न सक्छु । ‘सुदूरमा सुत्केरी, कष्टको कहर’ (मंसिर २९) समाचार पढेपछि जिउ नै सिरिङ्ग भयो । सुदूरपश्चिम अझै रुढिवादी परम्पराबाट माथि उठ्न सकेको छैन । त्यसो त राजधानी काठमाडौंकै काँठ क्षेत्रमा अझै रुढिवादी परम्परा कायमै छ । पछिल्लो समय स्वास्थ्य सूचकांकमा सुधारका केही संकेत देखा नपरेका होइनन् तर गर्भवतीलाई हुनुपर्ने नियमित गर्भजाँच, स्वास्थ्यसम्बन्धी चेतना, पोसिलो खानेकुराको व्यवस्थाजस्ता कुरामा हाम्रो ध्यान गएको देखिँदैन । स्वास्थ्य शिक्षाको अभाव, कामको बोझ, कम उमेरमा बच्चा जन्माउने बाध्यताजस्ता कुरा गर्भवतीका लागि काल बनेर आउने गर्छन् । सकेसम्म स्वास्थ्य चौकी या अस्पताल लैजान नपरे हुन्थ्यो भन्ने मान्यताको सिकार गर्भवती महिला हुने गरेका छन् । सुत्केरी व्यथाले च्यापेपछि धामी झाँक्रीको व्यवस्था गर्ने तथा देउताको दोष देखाएर प्रश्रव पीडामा रहेकी महिलामाथि पीडा थप्ने काम समाजले गरिरहेको छ ।
यहाँ एक या दुई महिलाको कुरा होइन, घरघरको समस्याका रूपमा हाम्रो रुढिवादी परम्परा र पुरातन मान्यता गर्भवतीको मृत्युको कारण बनिरहेका छन् । यसका लागि पालिका र वडास्तरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन अपरिहार्य छ । उनीहरूले खासगरी प्रत्येक गर्भवती महिलाको घरमा पुगेर चेतना फैलाउनुपर्छ । चेतना मात्र होइन, विपन्न र कम आय भएका महिलाका लागि पौष्टिक आहार र उचित बासस्थान व्यवस्था हुनुपर्छ । घरघरमा सिंहदरबारको अर्थलाई परिभाषित गर्ने हो भने अब कुनै पनि महिलाले बाटामा सुत्केरी हुने अवस्था सृजना हुनु हुन्न र सुकेरी हुन नसकेर मर्नुपरेका दुर्दान्त घटना समाचार बन्ने परिस्थितिको अन्त्य हुनुपर्छ । कान्तिपुर दैनिकले सुदूरमा सुत्केरी हुनु भनेको ठूलो काल मोचन गर्नुसरह रहेको सत्यतालाई सार्वजनिक गरिरहँदा अब सर्वत्र महिलाले देशमा सरकार रहेको आभास पाउनका लागि सुरक्षित सुत्केरीको अधिकारलाई महिलाको आधारभूत मानव अधिकारका रूपमा प्रस्तुत हुनुपर्छ । सुत्केरी हुन नसकेर महिलाको मृत्यु हुने या बाटामै सुत्केरी हुनुपर्ने अवस्थामा स्थानीय पालिकालाई जिम्मेवार बनाउनुपर्छ ।

रविना पौडेल धमला, गोकर्णेश्वर, काठमाडौं

सम्पादकलाई चिठी

८४ सम्म किन कुर्ने ?

संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो निर्वाचन सकिएको एक वर्ष मात्र हुँदै छ । यति बेला दलहरू सत्तापक्ष र प्रतिपक्षमा रहेर जनताका आधारभूत आवश्यकता पूरा गर्न केन्द्रित हुनुपर्ने हो । तर उनीहरूले सत्ता शक्ति र सम्पत्तिकै लागि आपसी भागबन्डामै समय बिताउने गरेका छन् । केही दल भने चार वर्षपछि हुने चुनावलाई केन्द्रित गर्ने भन्दै अभियानमा छन् । बेरोजगारी, महँगी, भ्रष्टाचारजस्ता मुलुकका जल्दाबल्दा समस्या निर्मूल गर्न अहिलेदेखि नै लाग्नुपर्ने होइन र ? दलहरूले भोलि नभनी आजैदेखि युवा शक्तिलाई ऊर्जा प्रदान गर्नुपर्ने हैन र ? जनताको समस्यालाई आजैदेखि समाधान गर्दै गए परिणाम पनि राम्रै आउँछ । किन मिसन ८४ चाहियो ?

बलराम थापा, क्षेत्रपाटी, काठमाडौं

सम्पादकलाई चिठी

झन्डा दिवसको महत्त्व

‘हाम्रो सान हाम्रो स्वाभिमान, राष्ट्रिय झन्डा हाम्रो पहिचान’ भन्ने नारासहित आइतबार झन्डा दिवस मनाइँदै छ । नागरिकको भेलासहित मनाइने यो राष्ट्रिय झन्डा दिवस छ्रैटौं हो । चन्द्रसूर्य अंकित राष्ट्रिय झन्डा कहिलेदेखि प्रचलनमा आयो भन्ने यकिन विवरण थाहा छैन । तर संयुक्त राष्ट्रसंघले मान्यता दिएको दिन १९६२ डिसेम्बर १६ (२०१९ पुस १) लाई स्मरण गर्दै २०७५ पुस १ देखि हामी एक समूहले राष्ट्रिय झन्डा दिवस मनाउँदै आएका छौं । राष्ट्रिय झन्डा दिवसलाई वर्षैपिच्छे नेपाल सरकारले पनि मनाउने गरे राम्रो हुन्थ्यो ।

तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

सम्पादकलाई चिठी

एमालेको संकल्प यात्रा बेमौसमी

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकल्प यात्राको दौरान पूर्वी नेपाल पुगेका बेला एक व्यक्तिले दुर्व्यवहार प्रयास गरे, जुन निन्दनीय छ । राजनीतिमा विचार प्रधान हुन्छ, विचारले मानिसको मत जित्ने हो, न कि हिंसाले । हिंसात्मक गतिविधिलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । ती व्यक्तिले बिनासोचबिचार मदिरा सेवन गरेको र त्यसैको नशामा उक्त हर्कत गरेको भए बेग्लै कुरा हो, पहिचान पक्षधरहरूको योजना मुताबिक हो भने यो गम्भीर विषय हो । पहिचान पक्षधरको आन्दोलन आफ्नो ठाउँमा ठीक होला तर हिंसात्मक क्रियाकलापले उनीहरूलाई बदनाम गर्छ ।
पहिचान पक्षधरको ९ महिने आन्दोलनलाई ध्यान नदिई संकल्प यात्रा राख्नु ओली र एमालेको कमजोरी हो । यो यात्रा बेमौसी यस कारण छ कि अहिले देशमा कुनै आम चुनाव हुँदै छैन, अनि मौसम पनि चिसो छ । ४ वर्षपछि हुने आम चुनावमा अहिलेदेखि नै मिसन २०८४ भनेर हिँड्नुको कुनै अर्थ र औचित्य छैन । यो यात्राले पूर्वी नेपालमा आगोमा घिउ थप्ने काम हुन्छ भनेर अन्य नेताहरूले ओलीलाई सुझाव दिन नसक्नु पनि कमजोरी हो । १९ दिने संकल्प यात्रामा ओलीले अन्य पार्टीलाई आरोप लाएर मात्र हुँदैन, आफूमाथि लागेका आरोपहरूको पनि तथ्यगत रूपमा सफाइ दिन सक्नुपर्छ । समृद्धिको परिभाषा दिन सक्नुपर्छ । समृद्धि भनेको झापाको खेतमा २२ तले टावर थप्नु मात्र हो ? कि पप्पुजस्तो बदनाम ठेकेदारलाई पार्टीमा ल्याउँदैमा समृद्धि आउने हो ? यती ग्रुपलाई ६ वर्ष अगाडि नै कौडीको मूल्यमा गोकर्ण रिसोर्ट जिम्मा लाउनु समृद्धि हो ? गिरी बन्धुको मूल्यवान् जग्गालाई सस्तो मूल्यको जग्गासँग साट्न दिँदा समृद्धि आउँछ ?

गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

सम्पादकलाई चिठी

'अदालतले दियो न्याय, प्रशासनले दिएन नागरिकता' समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी:

आमाबुबा दुवै छन् र सँगै छन् । जन्मदर्ता र शैक्षिक प्रमाणपत्र साथमा छ । आमा बुबा दुवैको नागरिकता पनि साथमा छ । गाउटोलको सर्जिमिन सनाखत पनि छ । वडाको सिफारिस पनि छ तर प्रशासन उनलाई नागरिकता दिन मान्दैन । कारण उनका बुबाआमा दुवै जना भौतिक रूपमा प्रशासनमा उपस्थित हुन सकेका छैनन् । उपस्थित हुन नसक्नुको कारणचाहिँ रोजगारीका सिलसिलामा बुबाआमा देशबाहिर छन् । वास्तविक नेपाली नागरिकको अवस्था यस्तो छ । जय कानुन, जय प्रशासन । सन्दर्भ रोल्पाको ।
– भद्र घर्ती कान्छा

रवि लामिछानेलाई तुरुन्तै नागरिकता दिन्छ, यो कानुनले । कतिपय विदेशीलाई तुरुन्तै दिन्छ तर नेपालीलाई धेरै विषयले रोक्छ नागरिकता लिन । यस्तै छन् नेपालको कानुन बनाउने र कार्यान्वयन गर्ने निकायहरू ।
– रेशम बुढा

प्रशासनले अदालतलाई सिकाउन थालेको नेपाल ।
– एनबी राई

प्रशासन चलाउनेहरूमा जनतालाई सेवा दिने भावना छैन, अनेक बखेडा झिकेर हैरान पार्छन् ।
–चिरञ्जीवी नेपाल

हाम्रा प्रशासन भन्नेहरू किन सरकारभन्दा माथिका ठान्छन् ? यस्ता अन्याय, अत्याचार अहिले प्रशासनहरूबाट भइरहेको सुन्नमा आइरहेको छ ।
– आङपासाङ गोले

Page 7
अन्तर्वार्ता

एनसेलजस्तै बुट मोडलका कम्पनीको हस्तान्तरणमा झमेला हुने पक्का छ

मलेसियाको टेलिकम कम्पनी आजिएटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर बिक्री गरेर बाहिरिने घोषणा गरेयता नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, दूरसञ्चार क्षेत्र र यससाग जोडिएका नीतिगत पाटाहरूसागै समग्र लगानीकै वातावरणबारे बहस बढेको छ । नीति विश्लेषक मात्रै नभएर संविधानविज्ञका रूपमा समेत परिचित वरिष्ठ अधिवक्ता विपिन अधिकारीले एनसेलको बाह्रौं खरिदबिक्रीको करसम्बन्धी विवादको मुद्दामा अन्तर्राष्ट्रिय निकायसमक्ष सरकारका तर्फबाट बहससमेत गरेका थिए । काठमाडौं युनिभर्सिटी स्कुल अफ लमा कानुनका प्राध्यापक र संस्थापक डिन रहेका अधिकारीसाग एनसेल आजिएटा सेयर खरिदबिक्रीसम्बन्धी विवादको अन्तर्य, कानुनी छिद्र र लगानीको वातावरण, एनसेलसहित राष्ट्रिय सम्पत्तिलाई सरकारी स्वामित्वमा ल्याउन चाल्नुपर्ने कदममा केन्द्रित रहेर कान्तिपुरका लागि कृष्ण आचार्यसजना बरालले गरेको कुराकानीको सम्पादित अंश:


एनसेलको यसअघिको बाह्रौं खरिदबिक्रीको करसम्बन्धी विवादको मुद्दामा अन्तर्राष्ट्रिय निकायसमक्ष सरकारका तर्फबाट तपाईंले पनि विज्ञका रूपमा बहस गर्नुभएको थियो । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा कर्पोरेट विवाद र प्रत्यक्ष वैदेशिक लगानीका सन्दर्भमा अनुभव पनि राख्नुहुन्छ । अहिलेको एनसेल सेयर स्वामित्व खरिदबिक्रीसम्बन्धी विषयलाई कसरी हेर्नुभएको छ ? यसको मूल विवाद के हो ?
एनसेलमा रेनोल्ड होल्डिङ्स नामक कम्पनीको ८० प्रतिशत सेयर हिस्सा छ । यसअघि मलेसियाको आजिएटा समूहले रेनोल्ड होल्डिङ्स किनेर एनसेलमा स्वामित्व कायम गरेको थियो । अहिले त्यही सेयर स्वामित्व उनीहरूले बेलायतको स्पेक्ट्रलाइट यूकेलाई बेचे । बेच्दा नेपाल सरकारका सम्बन्धित निकायहरूसँग कानुनबमोजिम छलफल गरेको देखिएन भन्ने सरकार पक्षको कुरा छ । यसलाई सञ्चारमाध्यमले पनि उठाएकै छन् । तर आजिएटाले ‘बेच्नुभन्दा अगाडि फलानोलाई बेच्छु भनेर निर्णय गर्न सकिएन, त्यो प्रक्रिया स्पष्ट भइसकेपछि नेपाल सरकारका निकायलाई सबै सूचना र कागपत्र दिने नै छौं, हामी खरिदबिक्री प्रक्रियामै छौं, कुनै छलकपट गरेका छैनौं’ भनिरहेको छ । हाम्रो कानुनअनुसार आजिएटाले नेपालमा पूर्वस्वीकृति लिनुपर्ने नै थियो । हाम्रा लागि चिन्ताको विषयचाहिँ आजिएटाजस्तो एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशमा दह्रो उपस्थितिसँगै गतिलो ब्रान्ड, ठूलो पुँजी, अब्बल व्यवस्थापन र राम्रो मुनाफा आर्जन गर्ने कम्पनी किन नेपाल छोडेर गयो भन्ने हो । १ करोडभन्दा बढी नेपालीले एनसेल प्रयोग गर्छन्, यत्रो ठूलो ग्राहक संख्या भएको कम्पनीले खबटाको भाउमा सेयर बेचेको छ । सात वर्षअघि १ खर्ब ४३ अर्ब ७ करोड रुपैयाँमा किनेको सेयर अहिले ६ अर्ब ६५ करोडमा बिक्री गर्नुपर्ने स्थिति कसरी आयो, यो पाटोबाट हामीले सोच्नुपर्छ ।
एउटा यस्तो कम्पनी, जो भर्खरै दर्ता भएको छ, जसको न बहुराष्ट्रिय उपस्थिति छ न त एउटा टेलिफोन नम्बर नै कति हो भन्ने कसैलाई थाहा छ, त्यसको मुख्यालय कहाँ छ, व्यवस्थापन कस्तो छ वा कम्पनीको नेतृत्व कसले लिएको छ वा यसका कामकारबाहीको कस्टमर रिभ्यु कस्तो आइरहेको छ भनेर कसैलाई थाहा छैन, ब्रान्ड के हो भन्ने थाहै नभएको नवोदित कम्पनीले एनसेल खरिद गरेको छ, त्यो पनि एकदमै सस्तोमा ।
आजिएटा फिर्ता जानुअघि नेपालमा काम गर्ने चाहना बारम्बार व्यक्त गरेको थियो । उनीहरूले नेपालका सम्बन्धित निकाय र नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग बारम्बार छलफल गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आजिएटाका चासो के हुन् भन्ने जानकारी छ, औद्योगिक तथा लगानी बोर्डले पनि उनीहरूका कुरा बुझेका छन् । आजिएटाको हैसियत के हो, उनीहरूले के कुरामा चासो व्यक्त गरिरहेका छन् भनेर उद्योग विभागमा स्थापना भएको एकल बिन्दु सेवा केन्द्रलाई पनि राम्रै थाहा छ । राष्ट्र बैंकदेखि कम्पनी रजिस्ट्रारको कार्यालय सबैले आजिएटाका चासोहरू स्पष्ट बुझेका छन् । यति बुझ्दाझ्दै ‘तिमीलाई नेपालमा काम गर्न किन यत्रो द्विविधा भएको हो ? नेपालमा तिम्रो लगानीमा मुनाफा भएन कि ? नेपाल सरकारले तिमीलाई न्याय गर्न सकेन कि ? सरकारको एकाधिकारले गर्दा यहाँको बजार प्रभावित भयो कि ? किन तिमी यसरी जाँदै छौ ?’ भनेर हाम्रो कुनै पनि निकायले आजिएटालाई सोधेन । मेरा लागि सबैभन्दा ठूलो विवादको विषय यही हो ।

आजिएटा किन बाहिरियो त ? के हुन सक्छ कारण ? हाम्रा निकायहरू किन बोलिरहेका छैनन् ?
पुँजीगत लाभकरका विषयमा एनसेलसँग हाम्रो लामो र पटक–पटक विवाद भयो । उनीहरूको भनाइ थियो— पहिलो कुरा, नेपालको कानुन प्रस्ट छैन र यो अस्पष्टताको फाइदा एनसेललाई हुनुपर्ने हो, नेपाल सरकारलाई होइन । दोस्रो कुरा, नेपालमा न्याय छैन । उनीहरूले नेपालमा डिनायल अफ जस्टिस न्याय नै नपाइने समस्या रहेको बताएका थिए । त्यसको अर्थ, जहाँजहाँ गयो, यहाँका हाकिमहरूले व्यक्तिगत स्तरमा कुरा गर्ने चलन छ, ‘मैले के पाउँछु ? मलाई के दिन्छस् ? मलाई के फाइदा हुन्छ ?’ भन्ने आधारमा प्रत्यक्ष विदेशी लगानीका कम्पनीसँग व्यवहार गर्ने संस्कृति नेपालमा छ ।
सरकारले बारम्बार लगानी सम्मेलन गर्दै आएको छ । सम्मेलनका बेला हामीले ‘विदेशी लगानी र प्रविधि हस्तान्तरणसम्बन्धी कानुन धेरै लिबरल छ, यसमा खुला छौं, बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार संरक्षण गरेका छौं, कानुन प्रणालीमा उद्योगको अनुमति, दर्ता, स्थापना, विस्तारजस्ता विषयमा उदार रणनीति अवलम्बन गरिएको छ, लगानीकर्ताले प्रोत्साहन, छुट, कर मिनाहा माग्नै पर्दैन, उद्योग र सेवाको दाबीअनुसार कानुनबमोजिम स्वतः दिन्छौं’ भन्ने गरेका छौं । ‘हामीसँग औद्योगिक व्यवसाय ऐन छ, कसैले कमाएको छ भने उसले निर्बाध रूपमा मुनाफा फिर्ता लैजान सक्छ, लगानी गर्न चाहन्छ भने जुनसुकै पुँजी निर्बाध रूपमा नेपाल भित्र्याउन सक्छ, सार्वजनिक र निजी क्षेत्रको साझेदारी हुन सक्छ, विदेशी कम्पनीले विदेशमै दर्ता भएको संस्थाका आधारमा नेपालमा कारोबार गर्न सक्छ, गैरआवासीयलाई पनि प्रशस्त अधिकार दिएर कानुन बनाइएको छ’ भनेर डंकासमेत पिट्ने गरेका छौं । यो आश्वासन सबै कहाँ गयो भन्ने आजिएटाको अर्को प्रश्न थियो ।
पुँजीगत लाभकरका विषयमा सर्वोच्च अदालतमा सार्वजनिक चासोको मुद्दा हालियो । सर्वोच्चले कानुनबमोजिम कर तिराउने निर्णय गर्‍यो । त्यसलाई उनीहरूले अन्तर्राष्ट्रिय ट्राइबुनलमा लगे । हामीले त्यहाँ प्रतिवाद गर्‍यौं । कानुनकै व्याख्याका आधारमा र हाम्रो जुन पोजिसन छ, त्यसका बारेमा बहस गरेर हामीले जित्यौं । तर जित्नु भनेको प्राविधिक कुरा मात्रै हो । मुद्दा जितेकाले हाम्रो ६०, ६१ अर्ब रुपैयाँ बच्यो, हामीले फिर्ता गर्नुपरेन, धेरै राम्रो कुरा भयो, तर नेपालको एउटा उद्योगमा सात वर्षदेखि काम गरिरहेको आजिएटाका लागि ट्राइबुनलको फैसलाले थप लगानीको आकर्षण घटाइदियो । यहाँनिर हामीले उनीहरूलाई ‘तिमीहरू यसरी छटपटाउनुको कारण के हो ? पुँजीगत लाभकरका कारण नाफामूलक व्यवसाय धान्न सकिँदैन त ?’ भनेर सोध्न सकेनौं ।

एनसेलमा २० प्रतिशत सेयर स्वामित्व भएको आजिएटाको जुन स्थानीय साझेदार थियो, उसैले नयाँ कम्पनी खोलेर आजिएटासँग रहेको ८० प्रतिशत सेयर पनि खरिद गरेको छ । कतै स्थानीय साझेदारले नै यहाँका निकायहरूलाई प्रभावमा पारी आजिएटाको विपक्षमा काम गरेर कम्पनी लिएको त होइन भन्ने एक थरी आशंका छ । तपाईंलाई के लाग्छ ?
एउटा कुरा पक्का हो, आजिएटा समूह नेपालबाट व्यथित भएको थियो र यो हामी सबैलाई थाहा छ । मसहित अन्य साथीले आजिएटाले हालेको मुद्दामा नेपाल सरकारको पक्षमा लडेका हौं, उनीहरू कसरी सोच्छन् भन्ने हामीलाई धेरथोर थाहा छ । हामीलाई त थाहा छ भने दूरसञ्चार प्राधिकरण वा नेपाल सरकारलाई थाहा नहुने भन्ने हुनै सक्दैन । थाहा हुँदाहुँदै पनि हाम्रो सरकारले किन निकासका लागि सोचेन ? यत्रो पैसा देशबाट जाँदै छ भनेर उसले दुई/चार पटक त घुर्की देखायो होला, त्यो घुर्कीलाई किन सम्बोधन गरिएन ? नेपाल सरकारको रेकर्डमा त्यो किन आएन ? १.६ अर्ब अमेरिकी डलरको लगानीकर्ता आफ्नो देशबाट जाँदै छ भन्ने थाहा पाएको भए भारतीय र चिनियाँहरूले टास्कफोर्स गठन गर्ने थिए । ‘तिम्रो मान्छे र हाम्रो मान्छे बसौं, यो विवाद सल्टाऔं, तिमीले कतै जानुपर्दैन, हामी बाधक छौं भने हामी हाम्रो बाटो सोझ्यौंला’ भन्थे होलान् । नेपाल सरकारले भनेन । तपाईंलाई अचम्म लाग्ला, आजिएटाले जुन दिन नेपालको कारोबार बेच्यो, त्यो दिन पुँजी बजारमा उसको सेयर मूल्य बढेको थियो । एउटा रुग्ण देशको रुग्ण व्यापार हाम्रो संस्थाले छोड्यो भनेर आजिएटा समूह र उसका अन्तर्राष्ट्रिय सेयरहोल्डरहरू खुसी भए । यसले गर्दा आफूहरू अझै बलियो हुने उनीहरूले अपेक्षा गरेका छन् । हामीलाई के भएको छ ? स्थानीय साझेदारले एनसेल किनेको छ, उसले राम्रै गर्ला, अहिलेसम्म हाम्रो पुँजी घटेको छैन, तर व्यवस्थापन त आजिएटाको होइन, अब एनसेल कमजोर व्यवस्थापनमा जाँदै छ । हालसालै एनसेलका कर्मचारीहरूको ट्रेड युनियनले कम्पनीबारे अफवाह फैलाइयो भनेर विज्ञप्ति निकालेको देखियो । हिजो जब यो कम्पनी कठोर नेगोसिएसनमा थियो, त्यो बेला कर्मचारीहरूले विज्ञप्ति निकाल्नुपर्दैनथ्यो ? नयाँ व्यवस्थापनलाई सहयोग गरेर विज्ञप्ति निस्कन्छ, हिजोलाई अप्ठ्यारो पर्दा त निस्केन ! कुनै ब्रान्ड नेम नभएको चारआने कम्पनी दर्ता गरेर ८० प्रतिशत स्वामित्व बेचिँदै गर्दा आफ्नो व्यवस्थापन कसको हातमा पुग्यो भनेर उनीहरूलाई कुनै चिन्ता लागेको छैन ।
नेपालमा अस्थिरता, लोभमोहका कारण आजिएटा गएको हो भने अब एनसेलको भविष्य छैन । कमजोर व्यवस्थापन र पारदर्शिताको जुन अभाव देखियो, त्यसले गर्दा विस्तारै यो डिक्लाइन (डुब्दै जाने) हुन्छ । यो बीचमा केही मानिसले राम्रै पैसा कमाऊलान् तर देशले एउटा अन्तर्राष्ट्रिय स्तरको लगानीकर्ता गुमायो र ऊसँगै नेपालमा आउन चाहने धेरै संस्था वा कम्पनी हच्किने भए । ‘आजिएटा त नेपालबाट सुइँकुच्चा ठोक्यो, हामी किन जाने ?’ भन्ने सन्देश गएको छ । आजिएटाले खबटाको भाउमा कम्पनी बेचेर हिँड्ने कुराले हाम्रा प्रधानमन्त्रीको टाउको दुखेको छैन ।

दूरसञ्चार ऐन–२०५३ को दफा १५ मा दूरसञ्चार कम्पनीको अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने भनिएको छ । एनसेलको २५ वर्षे अवधि २०८६ भदौ १६ मा पुग्दै छ । दफा ३३ मा ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको पुँजी लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्र अवधि समाप्त भएपछि सरकारको स्वामित्वमा आउने व्यवस्था छ । तर, विदेशी लगानी ५० प्रतिशतभन्दा कम भएमा सम्बन्धित कम्पनीले नै नवीकरण गरी चलाउन सक्ने अर्थ लाग्ने कानुनी छिद्र छ । यसमा कुनै जालझेल छ जस्तो लाग्दैन ?
जालझेल त पक्कै छ । पारदर्शिताको अभाव हुनु भनेकै जालझेलको द्योतक हो । जालझेल नभएको भए नेपाल सरकारले अहिले एउटा क्रेडिबल टास्कफोर्स गठन गर्थ्यो र यो विषयमा छलफल गराउँथ्यो । संसद्मा सत्यतथ्य प्रस्तुत गर भनेर म्यान्डेट दिने थियो । सरकार यो गर्न चाहँदैन । उसले एउटा नाम मात्रको समिति गठन गरेको छ । त्यस समितिमा उद्यमी को छ ?
तपाईंकै प्रश्नमा जाँदा, यो मात्रै होइन, थप विषय पनि छन् । जस्तो— ६ वर्षपछि एनसेल नेपाली कम्पनीले लेला, तर खुला प्रतिस्पर्धा गरेर प्रपोजलका आधारमा कुनै क्षमतावान् कम्पनीले एनसेल लिन सके पो हामीले गौरव गर्ने कुरा हुन्छ । त्यस्तो हुने देखिँदैन । लन्डनमा कुनै कम्पनी दर्ता भयो र यत्रो ठूलो कम्पनी उसको किनिदियो । यो प्रक्रियामा यहाँ जसरी झटपट गरेर सहयोग गरियो, यसले धेरै थोक बोलिरहेकै छ । यहाँसम्म कि, हाम्रा एक सांसद अदालतमा मुद्दा हाल्न जानुभयो । हजारौंलाई जागिर दिएको, मेचीदेखि महाकालीसम्मका हरेक तेस्रो व्यक्तिलाई चलायमान गराउने यत्रो ठूलो संस्था चित्त दुखाएर जाँदै छ, किन यस्तो भयो भनेर उहाँले सार्वजनिक चासोको मुद्दा (पीआईएल) हाल्नुभएको होइन, उहाँले यो किन यसरी बेचियो भनेर मुद्दा हाल्नुभएको छ । कुनै पनि उद्यमीलाई ‘तिमी नबेची बस’ भन्न मिल्छ ? म कानुनको मान्छे भएर पनि यति कुरा बुझिरहेको छु कि, आजिएटा ६ वर्षपछि कम्पनी छाड्नुपर्ने दिन आउन सक्छ भन्ने हिसाब गरेरै बाहिरिएको हो । ‘मलाई जुन सरकारले डंका पिटेर यहाँ ल्यायो, त्यसले कुनै आश्वासन दिइरहेको छैन, यस्तो अवस्थामा यहाँ बसिरहेर छैटौं वर्षमा ६ सय गुना बढी घाटा बेहोरर जानुभन्दा अहिले नै ठीक, यहाँ लगानी गर्नु दुर्भाग्यपूर्ण रहेछ’ भनेर हिँड्नुमै उसले फाइदा देख्यो ।

एनसेलको ८० प्रतिशत सेयर स्वामित्व खरिद गर्ने स्पेक्ट्रलाइट अहिलेलाई विदेशी लगानीकर्ता नै हो । तर एनसेलको अनुमतिपत्रको म्याद सकिने अवधिभित्र स्पेक्ट्रलाइटले नेपालस्थित आफ्नो कम्पनी सुनिभेरा क्यापिटलमा सेयर ट्रान्सफर गरी त्यसमा ५० प्रतिशतभन्दा बढी स्वामित्व बनाएर एनसेल हत्याउने खेल हो भनेर पनि कतिपयले विश्लेषण गरेका छन् नि ?
तपाईंले भनेको कुराको सम्भावना पूरापूर छ । एनसेलको ८० प्रतिशत सेयर मैले किन्न सक्दिनँ भने मभन्दा गरिब कम्पनीले कसरी किन्यो ? यहाँ खरिदकर्ताको अपारदर्शिताका कारण सेयर ट्रान्सफर गराउने एउटा संयन्त्रका रूपमा स्पेक्ट्रलाइटलाई लिइएको हुनुपर्छ । सम्भावनाकै कुरा गर्दा, सुरुमा नेपालमा नेपालीकै हातमा एनसेलको अधिकांश स्वामित्व ल्याइपुर्‍याउने अनि क्रमशः यसलाई पूर्ण रूपले नेपालीकरण गर्ने, त्यसका लागि नेपाल सरकारसँग केही लेनदेन गर्ने र अहिलेको खरिदबिक्रीलाई नेपालमै अवतरण गर्ने भनी सोचिएको हुन सक्छ । कसैलाई केही सुविधा उपलब्ध गराउने, राजनीतिक नेतृत्वलाई व्यक्तिगत रूपमा प्रभावित पार्ने र त्यसका आधारमा कारोबार र निर्णय गराउने बाटोमा गयो । मैले देख्दा नेपालमा सबैभन्दा धेरै कर तिर्ने करदाता थियो एनसेल आजिएटा, त्यो भनेको चानचुने कुरा होइन । उनीहरूले तिरेको करले हाम्रा धेरै सामाजिक सुरक्षा, स्कुल, स्वास्थ्यदेखि हाम्रो देशका आवश्यकताहरूसम्म पूरा हुन्थे । त्यति ठूलो करदाताको व्यवस्थापनले समेत नेपाल सरकारसँग जुन रूपमा व्यवहार गर्नुपर्थ्यो, गरेन । उनीहरू पनि राम्रो बाटोमा हिँड्न सकेनन् ।

एनसेलसँगको स्रोत, साधन र सम्पत्ति त अझै पनि यहीँ छँदै छ । नयाँ लगानीकर्ताले पनि सुधारको पथ लिन सक्ला कि भनेर सोच्न सकिन्न ?
त्यो गर्न सक्छ । तर जसरी भए पनि आजिएटालाई यहाँबाट खेदौं र खेदेपछि हामी बलियो हुन सक्छौं भन्ने प्रवृत्ति हाबी भएर यो कारोबार भएको हो भने देशका लागि धेरै ठूलो दुर्भाग्य हो । म एउटा सामान्य कानुन व्यवसायीले त्यत्रो दाबी गर्न सक्दिनँ, के मात्र भन्न सक्छु भने, यसमा अपार अपारदर्शिता छ । त्यो अपारदर्शिता सम्बद्ध संस्थाहरूले सिर्जना गरेका हुन् । उनीहरूले चाहेका भए सार्वजनिक सूचना निकालेर डिल गर्ने थिए । मैले भनें नि, हाम्रो सरकार यत्रो ठूलो लगानीकर्ताका लागि उठबस गर्न तयार हुनुपर्थ्यो । तर, सरकारले उसलाई कुनै विकल्प पनि दिएन । अहिले के देखिन्छ भने, यत्रो अपार सम्पत्तिलाई पहिले सेफ ल्यान्डिङ गराउने अनि त्यसपछि भागशान्ति जसरी हुन्छ, बाँडेर खाने । देश वा उद्यम डुबेकोमा यहाँ कसैलाई चिन्ता छैन ।
तर अहिले सुरुमा, कम्पनीलाई दोस्रो बजारमा सूचीकरण गरिन सक्छ । नेपाली जनता दगुरादगुर गरेर आईपीओ किनिहाल्छन् । त्यो किनेको दिन दिवालीया पल्टिने अवस्था पनि आउला । एनसेललाई सरकार मातहत ल्याउने हो भने सरकारले पहिले नै भन्नुपर्छ— उनीहरूको योजना के हो ? यो कानुनको कार्यान्वयन कसरी हुन्छ ? यसलाई कार्यान्वयन गराउन ट्रान्जिसन अरेन्जमेन्ट कसले गर्छ ? वा, एनसेललाई सरकारी स्वामित्वमा नल्याउने हो भने सरकारको ह्वाइट पेपर के हो, त्यो पनि बाहिर ल्याउनुपर्‍यो । र, अहिले जे भइरहेको छ, त्यसमा पारदर्शिता चाहिन्छ । यीमध्ये कुनै पनि काम भइरहेका छैनन् ।

यसअघि एनसेलको बाह्रौं खरिदबिक्रीको पुँजीगत लाभकरको विषय हाम्रो संसद्, सरकार, सर्वोच्च अदालत हुँदै अन्तर्राष्ट्रिय निकायसम्म पुग्यो । यो विवादको मुद्दा त्यहाँसम्म पुग्नुपछाडि केकस्ता कमजोरी रहे ?
कुनै पनि एफडीआईले उसलाई ल्याउँदाखेरि भनिएका र कानुनमा लेखिएका कुराहरूमा भर गर्न चाहन्छ । त्यसको व्याख्या अतिरञ्जित होला वा सरकारले हाम्रो खुट्टा तान्न खोज्ला भनेर कोही लगानी गर्न आएको हुँदैन । आजिएटाले पनि बोलिएका–लेखिएका कुराहरू कार्यान्वयन हुन्छन् भन्ठानेको थियो तर उसले यसमा फरक देख्यो । साथै, बजार पनि हिजोजस्तो रहेन । हिजोका दिनमा हाम्रो नेपाल टेलिकम क्षमतावान् कम्पनीका रूपमा स्थापित भइसकेको थिएन । जब एनसेल प्रवेश भयो, बजार प्रतिस्पर्धात्मक बन्यो । नेपाल टेलिकमको पनि क्षमता अभिवृद्धि भयो । दुवैले केही कुरा सिके, केही कुरा सिकाए, दुईटैको राम्रै भयो । तर आज बजार घट्दै गएको छ र यसको कारण अन्तर्राष्ट्रिय पनि मानिन्छ । तेस्रो कुरा, नेपालमा अवरोध (हिक्कप) हरू धेरै भए । अनौपचारिक खर्चहरू धेरै भए र ती खर्चका कारण व्यवस्थापनले सधैं सरकारसँग अल्झिरहनुपर्ने भयो । हरेक मान्छेलाई व्यक्तिगत रूपमा चित्त बुझाउनुपर्ने ! चौथो ठूलो समस्या भनेको मुनाफा फिर्तासम्बन्धी हो । नेपालमा एफडीआई सञ्चालन गर्न दिने हो भने पैसा आउन र जान पनि दिनुपर्छ । यस विषयमा राष्ट्र बैंक हर्डल (बाधक) भइदियो । भइरहेको प्रोफिटलाई फिर्ता लैजान खोज्दा सरकारको नीतिका आधारमा राष्ट्र बैंकले रोकिदिने स्थिति पनि आयो ।
आजिएटाका जति पनि यस्ता जेन्युन गुनासा छन्, तिनको सम्बोधन भएन । सम्पत्ति र पदका सम्बन्धमा नेपाली जनतामा पनि म्यानानिमिटी (उदारता) छैन । आफ्नोभन्दा बढी सम्पत्ति भएको मान्छेलाई रिस गर्ने चलन छ । पैसाप्रति वितृष्णा छ किनभने त्यो पैसा भ्रष्टाचारबाटै आएको हो भन्ने आम बुझाइ छ । यस कारण आजिएटाले प्रतिस्पर्धी बनेर मुनाफा आर्जन गर्ने वातावरण पाएन । कम्पनीभित्रकै नेपाली सेयरहोल्डरले नेपाल सरकार र उसको विवेकलाई म्यानिपुलेट गरिदिएको छ भन्ने आजिएटाको सोचाइ छ ।
उनीहरू कतिसम्म गर्थे भन्ने कुरा हेगमा देख्यौं । नेपालका प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि यहाँका विभिन्न अथोरिटीसँग भेट्दा उनीहरूले गोप्य रूपमा टेप रेकर्ड गर्दा रहेछन् । त्यो गैरकानुनी हो तर बोलेका कुराको, कसले बोलेको हो भन्ने कुराको अर्थ हुन्छ । अनौपचारिक शक्ति बढी शक्तिशाली र औपचारिक शक्ति कम शक्तिशाली भएको हाम्रोजस्तो देशमा कसरी टिक्ने भनेर हेर्दा उनीहरूले यस्ता हर्कत गर्नुपरेको हेगमा बताएका थिए । हाम्रा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘यो त मैले मिलाइदिएर जितेका हुन्, नत्र हारिसक्थे’ भनेको कुरा उनीहरूले टेप रेकर्डसहित ट्रान्सक्राइब गरेर बहसमा पेस गरेका थिए ।

अहिलेको खरिदबिक्रीको सन्दर्भमा पनि तीनवटा संसदीय समिति, एउटा उच्चस्तरीय छानबिन समिति, नेपाल दूरसञ्चार प्राधिकरण र अदालतसमेत आजिएटाको विषयमा आफ्नै हिसाबले अघि बढेको देखिन्छ । अदालतमा मुद्दा पर्ने र त्यसको प्रक्रिया एउटा छुट्टै विषय भयो, तर विद्यमान नियामक निकायलाई क्रियाशील गराउनुको सट्टा राजनीतिक रूपमा संसदिय समिति सक्रिय हुने र सरकारले समेत उच्च स्तरिय समिति बनाएको सन्दर्भलाई कसरी हेर्नुभएको छ ?
नेपाल दूरसञ्चार प्राधिकरण कमजोर नियामक निकाय हो । सिद्धान्ततः नियामक निकाय तब मानिन्छ जब त्यसमा निजी र सरकारी दुवै क्षेत्रमा काम गर्नेको अस्तित्व समान हुन्छ । नेपाल सरकारको विभागजस्तो भएर होइन, दूरसञ्चार उद्योगको सर्वाधिक हितका आधारमा प्रशासन वा नियमन गर्छ भने मात्र ऊ नियमनकारी संस्थाका रूपमा प्रभावकारी हुन सक्छ । प्राधिकरणमा उद्यमीहरू बहुमतमा छैनन् न त उनीहरूको प्रतिस्पर्धी प्रतिनिधित्व छ । प्राधिकरणमा जुन बोर्ड छ, त्यसलाई नेपाल सरकारको निर्देशन मान्नुपर्ने बाध्यता छ । यस्तोमा यो निकाय नियमनकारी कसरी हुन सक्छ ? अन्य देशको अभ्याससरह, हाम्रो प्राधिकरण क्षमतावान् नियमनकारी निकाय भइदिएको भए आज एनसेल खरिदबिक्रीको विषयमा नेपाल सरकार प्रतिवादी भएर उभिनुपर्थ्यो ।
धेरै विरोध हुन थालेपछि सरकारले विरोधलाई अन्यत्र मोड्न समिति बनाएको हो । प्राधिकरणको स्वतन्त्रता र यसको व्यावसायिक क्षमतालाई मान्ने हो भने यसैले काम गरिहाल्छ भनेर विश्वास गर्नुपर्ने हो । प्राधिकरण कमजोर हुनुको कारण सरकार हो । सरकारले बनाएको समिति कसरी बलियो हुन सक्छ ? प्रधानमन्त्रीले नै ‘अब छानबिन गरेर पत्ता लगाउँछौं’ भन्नुपर्ने अवस्था किन आयो ? यो विषयका लागि हामीसँग कम्पनी रजिस्ट्रारको कार्यालयदेखि लिएर प्राधिकरणसम्मको अचुक व्यवस्था छँदै छ । प्राधिकरण साँच्चिकै नियमनकारी हो भने यस्तो परिस्थित आउँदैनथ्यो । मैले यो प्राधिकरणलाई मात्रै औंलो ठड्याएको होइन, हाम्रा करिब १३ वटै नियामक निकायको अवस्था उस्तै छ । हामीकहाँ सेबोन, मेडिकल काउन्सिल, बिमा प्राधिकरण जस्ता नियामकमध्ये कानुनी रूपमा सबैभन्दा राम्रो नेपाल विद्युत् नियमन आयोग छ । तर हाम्रा नियामकहरूमा सरकारको निर्णायक हस्तक्षेप छ । हुनुपर्नेचाहिँ आधा उद्योग र आधा सरकारको बराबरी हस्तक्षेप हो जसले गर्दा कानुनमा बसेर सरकारले उद्यमीसँग व्यवहार गर्दा कोही हाबी नहोस् । कानुन सरकारले बनाउने, तर लागू प्राधिकरण नेतृत्वले स्वतन्त्र रूपमा गर्न पाउने स्थिति बनाउनुपर्छ । त्यसो हुन सकेमा अहिले आजिएटा समूहले झैं कुनै लगानीकर्ताले सरकार खोज्दै, प्रधानमन्त्री र सञ्चारमन्त्री खोज्दै हिँड्नुपर्दैन । उसले प्राधिकरणमार्फत एउटै झ्यालबाट डिल गर्न पाउँथ्यो, उसलाई न्याय पनि हुन्थ्यो र उसले प्रभावकारी रिमेडी पनि पाउँथ्यो । हाम्रो त्यो अवस्था रहेन ।

यहाँको समग्र भनाइमा आजिएटालाई कहीँ न कहीँ समस्या भएको भन्ने भाव छ । तर, ६ वर्षअघि डेढ खर्बमा कम्पनी किनेर यतिन्जेल नियमित लाभांश लगेको छ । अहिलेको सम्झौताअनुसार उसले भविष्यमा पनि नियमित लाभांश लैजाने सर्त राखेको छ । नेपालको प्राकृतिक सम्पत्ति, १ करोडभन्दा बढी नेपालीले सिम चलाएवापत्को मुनाफा उसले लग्यो । उसले नेपालमा लगानी अफसोर कम्पनीमार्फत गरेको छ । कहीँ न कहीँ उसले पनि अपारदर्शी कदम चालेको होइन र ?
 आजिएटाले नेपालमा न राम्रो मान्छे पहिचान गर्न सक्यो न क्रेडिबल प्रक्रियाबाट आफूलाई राख्न सक्यो न सर्वसाधारणमा सही सूचना प्रवाह गर्न सक्यो । उनीहरू सरकारलाई साझेदारका रूपमा मिलाउन चाहन्थे । उनीहरूले विदेशी कम्पनीका रूपमा कानुनअनुसार आफ्नो अधिकार दाबी मात्रै गरेनन्, त्यसलाई सजिलो गरी पार लगाउने उपाय पनि रोज्न थाले । उनीहरूकै व्यवहारबाट यो सब देखियो । तर हामीले त्यो सबै हुनुको कारण हाम्रै पारदर्शिताको अभाव हो वा हाम्रो प्रवृत्तिले दिएको स्पेस हो भनी सोच्नुपर्छ । उता पैसा छ, उसले कहाँबाट पैसा ल्यायो, त्यो हाम्रो सरोकारको विषय होइन । मलेसियामा अफशोर कम्पनी खोल्न पाइन्छ । मलेसियाको लाबुअन आइल्यान्डलाई त्यहाँको सरकारले ट्याक्स हेभनका रूपमा विकास गरेको छ । त्यो ट्याक्स हेभनको सुरक्षा लिएर कुनै कम्पनी नेपालमा लगानी गर्छ भने कानुनी रूपमा त्यो वैध हो । स्पेक्ट्रलाइटले गरेको पनि त्यही हो । बेलायतको कानुनअन्तर्गत त्यो सम्भव भएर नै हो ।
एउटा कम्पनीले आफ्नो फाइदाका लागि पारदर्शिता उल्लंघन गर्छ, म मान्छेलाई विश्वास दिलाउँछु भन्छ भने त्यो पाउँछ तर सरकारले त्यसो गर्न पाउँदैन । सरकार भनेको ३ करोड नेपालीको कर्पोरेट बडी हो, त्यहाँ हामीजस्ता स्टेकहोल्डर छौं । एउटा निजी कम्पनीले जसरी नाफा हुन्छ, त्यसरी जान खोज्नु स्वाभाविक हो, कानुनको उल्लंघन भयो भने चाहिँ समस्या हुन्छ । आजिएटाले पनि छोटो बाटो रोजेको हो । अहिले नै पनि नेपाल सरकारसँग उनीहरूको डिलिङ भएको हुनुपर्छ, प्रमुख नेतृत्वहरूसँग छलफल गरेकै हुनुपर्छ । हाम्रा नेतृत्व प्रमुखहरूले ‘यसरी व्यक्तिगत रूपमा डिल नगरौं, नियामकलाई तिम्रा समस्या सुनाऊ, हामी रिनेगोसिएट गरौं, आजसम्म जे भयोभयो, अब ६ वर्षपछि के हुन्छ भन्नेबारे अहिले नै तय गरौंला’ भनिदिएका भए आजिएटाका लागि यहाँ बस्ने विकल्प रहन्थ्यो ।

तर हिँड्ने बेला यहाँ लगानीको वातावरण छैन भनेर हिलो छ्याप्ने काम गरेको छ । यो त अति भएन र ?
उसको अहिलेको कारोबार घाटा जुन छ त्यो एकदम अपारेन्ट लस हो, ह्विमजिकल होइन । हामीले एनसेलको भविष्यबारे स्पष्ट दृष्टिकोण राखिदिएको भए वा बजारमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गरिदिएको भए वा राजनीतिकर्मीहरूले अहिले जसरी यसमा कहीँ न कहीँ साँठगाँठ छ भनिरहेका छन्, त्यस्तो नभइदिएको भए ऊ यहाँ टिक्न सक्थ्यो । टिक्नलाई पावर चाहिन्छ र पावर अर्को पक्षसँग छ भन्ने लागेपछि आजिएटा हिँड्यो । मलाई लाग्छ, लगानीकर्ताका रूपमा उसको जुन घाटा छ, जो पनि छटपटाउँछ । त्यहाँको व्यवस्थापनले पनि त आफ्नो व्यवस्थापनलाई रिपोर्टिङ गर्छ । उसको माथिल्लो व्यवस्थापनले मैदान छाड्नुको कारणबारे सोध्दा आजिएटाको नेपाल हेर्ने व्यवस्थापनले जवाफदेह हुनुपर्छ ।

एनसेल मात्रै नभएर जलविद्युत् आयोजना, पूर्वाधार तथा अन्य परियोजनाको लाइसेन्स २०४९ पछि बढी वितरण भएका हुन् । ती आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणामा अघि बढेका हुन् । तर कतिपय कानुनी अस्पष्टता र राजनीतिक तथा प्रशासनिक नियतका कारण खास गरी हस्तान्तरणको अवधिमा कानुनी छिद्रको प्रयोग गर्ने, राजनीतिक प्रभावमा पारेर आफ्नै स्वामित्व कायम राख्ने गरेको देखिन्छ । यसका पछाडि मुख्य कारण के होला ? यसलाई कसरी व्यवस्थित गरेर राज्यले आफ्नो स्वामित्वमा लिन सक्छ ?
एनसेल एउटा टेस्ट केस हो । एनसेल जस्तै बुट मोडलका कम्पनीहरूमा हस्तान्तरणमा चलखेल हुने, अपारदर्शिता बढ्ने पक्का छ । यस्ता केस अब बारम्बार आउँछन् । हाम्रो राजनीतिक परिदृश्य यही हो । यसलाई व्यवस्थित गर्न आवश्यक पर्ने पहिलो कुरा भनेकै पारदर्शिता हो । अलिकति सचेत हुनुपर्‍यो । सूचनाहरू सार्वजनिक रूपमा आउने परिस्थित हुनुपर्‍यो । तर अहिले त्यस्तो हुने सम्भावना एकदमै कम छ । अहिले एनसेलको विषयमा संसद्का समितिहरूबीच तानातान भइरहेको छ । यो विषयबारे उनीहरू बोल्छ चाहन्छन् किनभने यहाँ स्रोत र साधन छ । प्राधिकरण छँदै छ, काम गर्ने संस्थाहरू छन् । संसद्ले पहिले नै रुचि राख्नु जरुरी छैन । पहिले अध्ययन र छानबिनलगायतका प्रक्रिया पूरा होऊन् न, त्यसपछि जनताको सार्वभौम थलो संसद्मा यो विषय पुग्छ नै । सबै जना वाचडगका रूपमा काम गर्न लागेका देखिन्छन् । एकातिर एउटा विदेशी, आफ्नो देश छोडेर आएको कम्पनी छ, अर्कातिर सारा प्रणाली एक ठाउँमा आएर झ्याउँझ्याउँ गरिरहेका छन् । यस्तोमा न बोल्ने न त कुरा बुझाउने वातावरण हुन्छ ।
तपाईंले बुट मोडलको कुरा गर्नुभयो, म के भन्छु भने, कानुनमा त्यस्तो लेखिए पनि नेपाल सरकारको त्यो स्तरको व्यवस्थापन छ त ? नेपाल सरकारका प्राधिकरणहरूको नियमन क्षमता बुट मोडल धान्न सक्ने किसिमको छ ? हाम्रो सरकारका विभागहरूले आजसम्म यस्ता विषयमा कुनै सहजता देखाउन सकेका छन् ? छैनन् । हिजो बुट मोडलबारे लेख्दा, २५ वर्षअघि हामी अलिक फरक राजनीतिक परिस्थितिमा थियौं । त्यो बेलाको एउटा फर्मुलेसन हो यो । आज माहोल त्यस्तो छैन । हाम्रो त्यो व्यवस्थापन भएको भए मेलम्चीमा पटक–पटक हामीले पुँजी वृद्धि गराएर प्रोजेक्ट गर्नुपर्ने अवस्था हुन्थ्यो ? नेपाल सरकारले बुट मोडलका कम्पनी सबै आफूले लिने होइन । जुन समयमा कम्पनीहरू नेपाल सरकार मातहात आइपुग्ने अवस्था हुन्छ, सरकारले विकल्प सिर्जना गर्नुपर्छ ।

त्यसको अर्थ निजी क्षेत्रमा प्रतिस्पर्धा गराएर पुनः सञ्चालनको जिम्मा दिने हो कि गोकर्ण फरेस्ट रिसोर्टजस्तै जसले सञ्चालन गरिरहेको छ उसैसँग साँठगाँठ गरेर तैं गरी खा भन्ने शैलीमा टीका लगाएर दिने हो ?
सम्झौतामा रिनेगोसिएसन गर्न सकिन्छ । त्यसो गर्दा विद्यमान पार्टी क्रेडिबल छ भने उसलाई पनि अवसर दिने हो । नेपाल सरकारले कानुन त हेर्नुपर्छ, हाम्रो व्यवहार जस्तो भए पनि कानुन प्रतिस्पर्धात्मक नै छ । संविधानको हिसाबले हेर्दा सम्पत्तिको अधिकारसम्बन्धी स्टान्डर्ड विश्वस्तरको छ । कानुनमा कमीकमजोरी छैन, त्योअनुसार प्रक्रिया पनि पूरा हुन्छ तर त्यसभित्रका उद्देश्यहरूले फरक पारिरहेका हुन्छन् । त्यसकारण मलाई लाग्दैन कि, जलविद्युत्लगायतका हाम्रा सम्पूर्ण आयोजना नेपाल सरकार आफैंले धान्न सक्छ । सरकारले सरकारी सम्पत्ति टीका लगाएर होइन, प्रतिस्पर्धाका आधारमा क्रेडिबल पार्टी खोजेर दिने हो । प्रतिस्पर्धा गराउँदा अनुकूल मापदण्ड बनाएर त्यसैलाई दिने प्रवृत्ति छ । यहाँनिर नियामक चाहिने हो । कुनै कम्पनी नेपाल छोडेर जाँदै छ भने पैसाको समस्याले होइन, व्यवस्थापकीय हैरानीले गर्दा हो ।

Page 8
परदेश

सन् २०२३ मा अमेरिकामा घरविहीनको संख्यामा उल्लेख्य वृद्धि

वासिङ्टन (रासस/एएफपी)– संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको संख्यामा यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ ।
अमेरिकी आवास तथा सहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर ६ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।
यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा तथ्यांक संकलन सुरु भएयताकै सबैभन्दा बढी हो ।
अफ्रिकी अमेरिकीहरू कुल अमेरिकी जनसंख्याको १३ प्रतिशत छन् तर घरबारविहीन भएकामध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन् ।
सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषाका रूपमा स्पेनी भाषा प्रयोग गर्ने भनेर पहिचान गर्ने व्यक्तिमा घरबारविहीन हुनेको संख्यामा २८ प्रतिशत अर्थात् ३९ हजार १०६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१२ देखि नै घरबारविहीन अवस्थामा रहेका बालबालिकाको सफ्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
जनवरीमा घरबारविहीन भएका छ लाख ५३ हजार १०० मध्ये हरेक १० जनामा छ जना आश्रयस्थल वा अन्य अस्थायी आवासमा थिए भने १० मध्ये चार जना मानवबस्तीका लागि नबनेको ठाउँमा थिए ।
क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१ हजार ३९९, न्युयोर्कमा एक लाख तीन हजार २००, फ्लोरिडामा ३० हजार ७५६, वासिङ्टनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३७७ र ओरेगनमा २० हजार १४२ जना घरबारविहीन छन् ।
विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको संकटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ ।

परदेश

इजरायली सेनाको गोलीबाट तीन बन्धकको मृत्यु

तेल अभिभ, (रासस/एएफपी)–इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीवश मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिभमा भएको प्रदर्शनप्रति पनि सेनाले खेद व्यक्त गरेको छ । इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा सहरको सीमा क्षेत्रमा अपरेसनका क्रममा गोली हानिएको थियो ।
प्यालेस्टिनी लडाकु समूह हमासले असोज २० (अक्टोबर ७) मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए । उक्त घटनामा नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमास लडाकुले बन्धक बनाएर लगेका थिए । जोशीको अवस्था अझै अज्ञात छ । इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, ‘शेजैयामा भएको लडाइँका क्रममा इजरायली रक्षा बल (आईडीएफ) ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए ।’ अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुःखद’ घटना भनेका छन् । ‘सम्पूर्ण इजरायल आफ्नो क्षतिप्रति दुःखी छन्,’ उनले भने । अमेरिकाले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ ।
घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए र नेतन्याहुको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ जना बन्धकको रिहाइका लागि आग्रह गरेका थिए । प्रदर्शनकारीहरूले इजरायलको झन्डा र प्लेकार्ड बोकेका देखिन्थ्यो । ‘हरेक दिन एक जना बन्धकको मृत्यु हुन्छ,’ एउटा प्लाकार्डमा लेखिएको थियो । ‘मलाई डर लागिरहेको छ,’ हमासले बन्धक बनाएक एक महिला इटे स्विस्कीकी बहिनी मेराभ स्विस्कीले भनिन्, ‘हामी अहिले नै बन्धकका लागि सम्झौता गर्नका लागि माग गर्छौं ।’
अघिल्लो महिना अस्थायी युद्धविरामपछि इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासद्वारा मुक्त गरिएको थियो । युद्धविराम अन्त्यसँगै लडाइँ फेरि सुरु भएको छ ।

परदेश

भारतमा संसद्को सुरक्षा व्यवस्थामाथि प्रश्न

गत बुधबार संसद्भित्रै दुई जना युवाले पहेंलो धूवाा फालेर गरेको प्रदर्शनको घटनामा विपक्षीले उठायो प्रश्न
- राजेश मिश्र

(नयाँदिल्ली)
भारतको संसद् भवनभित्रै पुगेर केही युवाले गरेको प्रदर्शनको घटनाले संसद्को सुरक्षा बन्दोबस्तीमाथि एक पटक पुनः प्रश्न उठेको छ । गत बुधबार नयाँ संसद् भवनमा लोकसभाको बैठक भइरहेकै बेला दर्शकदीर्घाबाट दुई जना युवकहरू संसद्भित्र कुदेका थिए । उनीहरूले पहेंलो रंगको धूवाँ संसद् भवनभित्र फैलाएर प्रदर्शनसमेत गरेका थिए । घटनामा संलग्न ६ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
भारतको संसद् भवनमाथि आतंककारी हमला भएको २२ वर्षपछि केही युवकहरूले विभिन्न तहको सुरक्षा घेरालाई तोड्दै संसद्भित्रै गएर विरोध प्रदर्शन गर्न सफल भएका हुन् । १३ डिसेम्बर २००१ मा संसद्माथि आतंकवादी हमला भएको थियो । त्यही मितिलाई पारेर १३ डिसेम्बरकै दिन अपराह्न लोकसभा बैठक चलिरहेका बेला दुईजना युवकहरू अकस्मात् माथिको दर्शकदीर्घाबाट संसद् बैठक कक्षमा कुदेका थिए । उनीहरूले जुत्तामा लुकाएर ल्याएको पहेंलो रंगको रंगीन धूवाँ फाल्ने डब्बाबाट स्प्रे गरेका थिए । सांसदहरूले ती दुईजना युवकलाई पक्रेर प्रहरीलाई बुझाएका थिए ।
सांसदहरूले २२ वर्ष अगाडिको घटनामा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली दिएको केहीबेरमै नयाँ संसद् भवनमा नयाँ ढंगबाट आक्रमण भएको हो । आक्रमणमा कुनै हतियारको प्रयोग भने गरिएको थिएन । तर, अकस्मात् भएको उक्त घटनाले संसद्भित्र भयको वातावरण निर्माण गरेको थियो । भाजपा सांसद खगेन मुर्मूले आफ्नो कुरा राखिरहेकै बेला युवकहरू बैठक कक्षमा कुँदेका थिए । उनीहरूमध्ये एकजना स्पिकर (सभामुख) को कुर्सीतर्फ दौडिने प्रयास गर्दा सांसदहरूले समातेका थिए ।
संसद्भित्र पहेंलो रंगको धूवाँ फैलाइएकै समयमा संसद् बाहिर पनि दुई जनाले पहेंलो धूवाँ फैलाएर नाराबाजी गरेका थिए । उनीहरूले ‘संविधान बचाऊ र तनाशाही खतम गरौं’, मणिपुरलाई न्याय गरौं, महिलामाथिको अत्याचार बन्द गर, जय भीम, जय भारत जस्ता नारा लगाएका थिए । प्रहरीले बाहिर प्रदर्शन गरेकाहरूलाई तत्कालै पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूमाथि आतंकवाद विरोधी कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका युवाहरूले प्रारम्भिक बयानमा आफूहरू बेरोजगारीले दिक्क भएर यस्तो प्रदर्शन गरेको भनेका छन् ।
घटनापछि संसद्को सुरक्षा व्यवस्थामा भएको कमजोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले एउटा कमिटी गठन गरेको छ । विपक्षी सांसदहरूले संसद् भवनमा भएको सुरक्षा कमजोरीलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन् । संसद्मा लगातार त्यस्तो प्रश्न उठाइएपछि सरकारका तर्फबाट रक्षामन्त्री राजनाथ सिंहले जवाफ दिएका थिए । उनले घटनालाई दुर्भाग्यपूर्ण भन्दै सत्ता वा विपक्ष सबै सांसदले सावधानी अपनाउनुपर्ने बताए थिए । भाजपा सांसदले उपलब्ध गराएकै पासमा ती युवाहरू संसद् भवनमा प्रवेश गरेकोप्रति विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । पाँच तहको सुरक्षा घेरालाई तोड्दै संसद्भित्र भएको प्रदर्शनमा गम्भीर सुरक्षा कमजोरी भएको विपक्षीहरूको भनाइ छ ।
कांग्रेस सांसद अधिररंजन चौधरीले निहत्था सांसद र कर्मचारीले संसद्लाई बचाएको बताए । उनले सिंगो सुरक्षा व्यवस्था र इन्टेलिजेन्स हातामा लिएको सरकारले यस विषयमा जिम्मेवारी लिन नसकेको दुःखद भएको भनेका छन् । कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको नीतिका कारण देशमा बढेको बेरोजगारीको परिणाम स्वरूप संसद्भित्र त्यस्तो घटना भएको बयान दिएका छन् ।
संसद्को बैठक कक्षभित्र हाम फाल्ने युवाको पहिचान लखनउका सागर शर्मा र मैसरुका डी मनोरञ्जन भएको खुलेको छ । त्यस्तै, संसद् बाहिर प्रदर्शन गर्नेमा महाराष्ट्रका अमोल शिंदे र हिसारका नीलम थिइन् । त्यस्तै, यस घटनाको मुख्य योजनाकार मानिएका बिहारका ललित झाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

Page 9
अर्थ वाणिज्य

स्टक एक्सचेन्जको लाइसेन्स खोल्न मन्त्रिपरिषद्लाई सेबोनको पत्र

अर्थ समितिले अध्ययन तथा अनुसन्धानबिनै स्टक एक्सचेन्जको लाइसेन्स खुला गर्न तीन साताअघि सरकारलाई निर्देशन दिएको थियो
- यज्ञ बञ्जाडे

(काठमाडौं)
नयाँ स्टक एक्सचेन्जको अनुमति (लाइसेन्स) खुलाउन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सरकार (मन्त्रिपरिषद्) लाई पत्र लेखेको छ । यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन भन्दै संघीय संसद्को अर्थ समितिले आफूलाई लेखेको पत्रका आधारमा बोर्डले मन्त्रिपरिषद्लाई पनि पत्र लेखेको हो ।
अर्थ मन्त्रालयबाट स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउनु भन्ने अर्थ समितिको पत्र प्राप्त भएकाले सोही पत्रका बारेमा सञ्चालक समितिमा छलफल हुँदा अब मन्त्रिपरिषद्लाई पत्र लेख्न निर्णय भएको र सोही आधारमा पत्र तयार भएको बोर्ड स्रोतले बताएको छ । ‘अर्थ समितिको पत्रउपर बोर्डमा छलफल भएको हो । यसअघि मन्त्रिपरिषद्बाट नै पनि स्टक एक्सचेन्जको लाइसेन्स रोक्नु भन्ने लिखित निर्देशन भएकाले अब के गर्ने भन्नेबारेको पत्र तयार भएको छ,’ स्रोतले भन्यो, ‘उक्त पत्रमा शुक्रबारसम्म सबै सञ्चालक समितिको हस्ताक्षर भइनसकेकाले उता पठाइएको छैन । आइतबार सबै सञ्चालकको हस्ताक्षर भएपछि मात्र पत्र अर्थ मन्त्रालय पठाउने तयारी छ ।’
पत्रमा संघीय संसद्को अर्थ समितिले प्रक्रिया अघि बढाउनु भन्ने निर्देशन दिइसकेकाले अब मन्त्रिपरिषद्ले पनि बाटो खुला गरिदिनुपर्‍यो भन्ने अनुरोध गरिएको स्रोतले बताएको छ । ‘सरकारलाई निर्देशन दिने अधिकार हामीसँग छैन, यसकारण अर्थ समितिबाट यस्तो निर्देशन आएको छ, तर तपाईंहरूले (मन्त्रिपरिषद्) रोकिरहनुभएको छ, यस्तो अवस्थामा अब के गर्ने भन्ने आशयको पत्र बोर्डले सरकारलाई लेखेको हो,’ स्रोतले भन्यो, ‘त्यसपछि मन्त्रिपरिषद्का जवाफ के हुन्छ त्यसका आधारमा लाइसेन्सको प्रक्रिया अघि बढ्छ ।’
बोर्डले सिधै सरकारलाई पत्र लेख्न मिल्दैन । यसकारण बोर्डले अर्थ मन्त्रालयमार्फत सरकारलाई पत्र लेखेको हो । यसअघि पनि स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्ने भन्ने मन्त्रिपरिषद्को निर्णयको पत्र अर्थ मन्त्रालयमार्फत नै बोर्डले प्राप्त गरेको हो । यसअघि मन्त्रिपरिषद्ले लिखित रूपमै प्रक्रिया रोक्न निर्देशन दिएकाले अब पनि लिखित रूपमै खुला गरेको पत्र आउनुपर्ने कानुनका जानकारहरू बताउँछन् ।
यही मंसिर दोस्रो साता अर्थ समितिले पनि लिखित रूपमै लाइसेन्स प्रक्रिया अघि बढाउन सरकारलाई लिखित पत्र लेखिसकेको छ । केही सांसदको विरोधबीच गत कात्तिक २५ मा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको समितिले अर्थ मन्त्रालयमार्फत सरका (मन्त्रिपरिषद्) लाई पनि पत्र लेखेको थियो । तर, शुक्रबारसम्म यसबारेमा मन्त्रिपरिषद्ले केही निर्णय गरिसकेको छैन । ‘लाइसेन्स खोल्न अनुरोध गर्दै अर्थ समितिबाट यसअघि नै पत्र आएको थियो भने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्रक्रिया छिटो अघि बढाउन ताकेता गरिरहेका छन्,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘तर बोर्डले सरकारलाई लेखेको पत्र अझै मन्त्रालयमा प्राप्त भइसकेको छैन ।’
निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन लागिएको, आर्थिक चलखेल भएकोलगायत कारण विवाद चर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठमै प्रक्रिया स्थगन गर्न निर्देशन दिएका थिए । यद्यपि यही मंसिरदेखि लाइसेन्स खोल्न सरकार र संसदीय समिति सक्रिय हुन थालेका छन् । सोही क्रममा आफ्नो पूर्वनिर्णयबाट पछि हट्दै संघीय संसद्को अर्थसमितिले सांसदकै फरक मतका बीच अध्ययन तथा अनुसन्धानबिनै स्टक एक्सचेन्जको लाइसेन्स खुला गर्न तीन साताअघि सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्णयमा अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेलगायत सांसदले फरक मत राखेका छन् । ‘विधि पुर्‍याएर आर्थिक सुशासनका आधारभूत सिद्धान्तप्रति कटिबद्ध भई विशुद्ध प्रतिस्पर्धाको कोणबाट दोस्रो स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया छिट्टै अगाडि बढाउन सिद्धान्ततः मेरो असहमति छैन,’ सांसद वाग्लेले फरक मतमा लेखेका छन्, ‘तर दीपावली सुरु हुनुअघि साँझको ७ बजे खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय गरेको देखिने भएको र चाडपर्वपछि सार्थक छलफल गरी निर्णय लिँदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने महसुस गरेकाले मैले फरक मत (नोट अफ डिसेन्ट) दर्ज गरेको छु ।’
यस्तै, पूर्वअर्थमन्त्री युवराज खतिवडा, बोर्डका पूर्वअध्यक्ष एवं अर्थविद् रेवतबहादुर कार्की, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टलगायतले पनि बोर्डले नियोजित रूपमा स्टक एक्सचेन्जको लाइसेन्स वितरण थालेको र सोही प्रक्रियामा सरकार, संसदीय समितिहरूले साथ दिएको आरोप लगाउँदै आएका छन् । बजारको हितमा पारदर्शी प्रक्रियाबाट हो भने सबैलाई मान्य हुन्छ । तर निश्चित समूहको हित हुने गरी अपारदर्शी तरिकाले लाइसेन्स वितरणको निर्णय आउनु सह्य नभएको र त्यो बजारको हितविपरीत हुने उनीहरूको भनाइ छ ।

अर्थ वाणिज्य

एफपीओ र मर्जरसम्बन्धी करमार्फत पौने १३ अर्ब संकलन

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत ल्याएको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजिसन प्रक्रियामा भएको ‘बार्गेन पर्चेज गेन’ मा करमार्फत पौने १३ अर्ब रुपैयाँ संकलन गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार शुक्रबार र शनिबार गरेर दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ कर संकलन भएको छ । सरकारले ल्याएको उक्त कर व्यवस्थाको विरोध गर्दै बैंकहरूले सर्वोच्च अदालतमा रिट हालेका थिए । गत बिहीबार अदालतले उक्त रिट खारेज गरेपछि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले धमाधम कर तिरेका हुन । यही फैसलापछि आन्तरिक राजस्व कार्यालयले पनि आज (शनिबार) पनि कार्यालय कर तिर्न मिल्ने व्यवस्था गरेको छ ।
यही व्यवस्था अनुसार शनिबार ४ बजेसम्म एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त रकम राज्यकोषमा दाखिला भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । कर दाखिला गर्ने समय शनिबार राति १२ बजे सम्म रहेको छ । आजसम्म दाखिला गर्ने बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले जरिवाना छुट पाउने व्यवस्था रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले ०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असुल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो । तर, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषय बेवास्ता गर्दै आएका थिए ।
महालेखाको ६०औं प्रतिवेदनमा सरकारले कर उठाउनुपर्ने विषय उठाइएको छ । महालेखाले लगातार ४ वटा प्रतिवेदनमा कर उठाउनुपर्ने विषय उठाएपछि सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मंसिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेको थियो । तर उक्त शुल्क र जरिवानामा छुट दिने निर्णय गर्दा संविधानविपरीत सरकारले कर लगाउने खोजेको भन्दै सरकारले गरेको निणर्यविरुद्ध १६ वटा वाणिज्य बैंकहरू सर्वोच्च अदालत पुगेका थिए ।
मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ । यसकारण कम्पनीहरूले मंसिर मसान्तसम्म यस्तो रकम बुझाइ सक्नुपर्नेछ । मंसिर मसान्तभित्र कर तिर्दा मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभको आधारमा मात्रै कर तिरे पुग्छ । ब्याज र जरिवाना तिर्नु पर्दैन ।
गत बिहीबार सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंक तथा बीमा कम्पनीले भूतप्रभावी कानुन बनाई कर लगाउन खोजेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट खारेज गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । रिट सर्वोच्चले खारेज गरेसँगै आर्थिक ऐनमार्फत छुट दिने सरकारको निर्णय कानुनबमोजिम भएको ठहर भएको हो । त्यसपछि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले धमाधम कर बुझाएका हुन् ।

अर्थ वाणिज्य

हुलाकी गोरेटो मर्मत गरेर पदमार्ग

मध्यपहाडी लोकमार्गको घुमाउरो सडकले १९ किमि लामो यात्रा गर्नुपर्थ्यो
पदमार्गले यात्रालाई ७ किमिमा छोट्यायो
- प्रकाश बराल

(बागलुङ)
हुलाकीले चिठीपत्र बोकेर छिटो गन्तव्यमा पुग्ने पुराना गोरेटो बाटो संरक्षण गरेर बागलुङका स्थानीयले आकर्षक पदमार्ग बनाएका छन् । पूर्व र उत्तरी हिमाली शृंखला हेर्दै छिटो गन्तव्यमा पुग्न काठेखोला गाउँपालिका–५ र ६ जोड्ने पदमार्ग बनाइएको हो । यो पदमार्गले सदरमुकामदेखि बिहुँको घोडाबाँधेसम्म पुग्ने छोटो मार्ग बनाएको छ । पर्यटकीय दृष्टिले पनि यो मार्ग महत्त्वपूर्ण भएको स्थानीयले बताए ।
 मध्यपहाडी लोकमार्गको घुमाउरो सडकले १९ किमि लामो यात्रा गर्नु पर्थ्यो । पदमार्गले यात्रालाई ७ किमिमा छोट्याएको छ । यो हुलाकी बाटोमध्येको आधा बढी खण्ड निर्माण भइसकेको छ । केही स्थानमा पुराना गोरेटोलाई नै कायम गरिएको छ भने केही खण्ड मर्मत हुँदै छ ।
 हुलाकी गोरेटोले काठेखोला गाउँपालिका ५ र ६ को सुल्डाँटादेखि बिहुँकोट, हटिया, रामकोट शिवालय मन्दिर, दहपानी हुँदै घोडाबाँधेलाई जोड्छ । यही बाटो शिवधुरी होमस्टे पनि पुग्न सकिन्छ । ‘मोटरबाटोले पुराना पदमार्ग प्रयोगमा आउन सकेका थिएनन्, पदमार्ग भएपछि धेरैले यात्रा गर्न थालेका छन्,’ स्थानीय जमुना सापकोटाले भनिन्, ‘पदमार्गले विद्यार्थीलाई पनि समयमा आउजाउ गर्न सहज भएको छ ।’ पदमार्गमा ताराखोलाका ढुंगा ल्याएर आकर्षक र पक्की सिँढी मार्ग बनाइएको स्थानीय गोविन्दप्रसाद शर्मा कँडेलले बताए । गाडी चढेर पनि ढिला हुने सडकको विकल्पमा पदमार्ग प्रयोग हुन थालेको कँडेलको अनुभव छ ।
 बिहुँकोटबाट जापान गएर बसेका युवाले रकम संकलन गरेर ती पदमार्ग निर्माण गर्न लगाएका हुन् । स्थानीयले श्रमदानसमेत गर्दा सानो रकमले धेरै पदमार्ग बनेको हो । पदमार्गका लागि पहिलो चरणमा स्थानीयले गाउँपालिकामा सहयोग मागेका थिए । गाउँपालिकाले २ लाख मात्रै सहयोग गरेपछि स्थानीयले युवालाई गुहारे । युवाहरूले सल्लाह गरेर चन्दा संकलनमार्फत ७० लाख रुपैयाँ जम्मा गरेर पठाएपछि श्रमदानसमेत गरी १ करोड रुपैयाँ लागतमा आकर्षक पदमार्ग बनेको हो । निर्माणका लागि पनि दक्ष कामदारबाहेकको काम स्थानीय र उपभोक्ता समितिले श्रमदान पनि गरेका थिए ।
अन्य पुराना पदमार्ग पनि युवा जुटेर मर्मत गरेका छन् । नयाँ निर्माण भएको पदमार्गबाट रामकोटमा सञ्चालित प्रमानन्द वेदवेदाङ्ग संस्कृत पाठशालामा पुग्न पनि सहज भएको छ । २०३२ सालमा खुलेको पाठशालामा वेदवेदाङ्ग र कर्ममाण्डको पनि पढाइ हुन्छ । देवघाटधामका पीठाधीश ज्ञानानन्द सरस्वतीसमेत बेलाबेला आएर बस्ने भएकाले धार्मिक भेला, मेला महोत्सव तथा महायज्ञहरू सञ्चालन गरिन्छ । त्यसका लागि सयौं मानिस आउने जाने गर्दा पदमार्ग सहज बनेको हो । यहाँ घना जंगलसहित अग्लो र ५ क्विन्टलको शिवलिङ्गसमेत स्थापित छ ।
 पूर्वउत्तरमा माछापुच्छ्रे हिमाल, अन्नपूर्ण शृंखला र धौलागिरि हिमालसमेत देखिने भएकाले यो पदमार्ग पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भएको स्थानीय ज्ञानु श्रीशले बताइन् । ‘यो पुरानो हुलाकी मार्ग पनि हो, अहिले झन् सोझो र रमणीय बन्यो,’ उनले भनिन्, ‘सडक मार्ग खुलेकाले हुलाकी मार्गमा चहलपहल घटेको थियो, अब फेरि बढ्ने भयो ।’ सदरमुकाम बागलुङ बजारदेखि गलकोट हुँदै बुर्तिवाङसम्म पुग्ने पैदल यात्री पहिला बिहुँको बाटो हिँड्थे । घोडाबाँधेदेखि बिहुँकोट हुँदै अक्षेते झर्ने हुलाकी मार्ग छोटो बाटो हो । ‘सदरमुकामबाट चिठीपत्र बोकेर पश्चिम जानेले प्रयोग गर्ने छोटो मार्ग भएकाले हुलाकी मार्ग नाम दिएको हो,’ ८५ वर्षीय गोविन्दप्रसाद कँडेलले भने, ‘पुराना गोरेटा सदुपयोग गर्न यस्ता पदमार्ग सहयोगी बन्छन् ।’ वडा नं. ५ र ६ रहेको बिहुँकोटका दुवै वडाध्यक्षले अक्षेते बजारदेखि घोडाबाँधे जाने पदमार्ग निर्माणको योजना बनाएको सुनाए ।
लामो दूरीका सवारीले स्थानीयलाई चढ्ने अवसर नदिँदा यो पदमार्ग उपयोगी भएको वडा ६ का अध्यक्ष वृहस्पति कँडेलले सुनाए । ‘काम विशेषले यात्रा गर्नेका लागि लोकमार्ग भए पनि पर्यटन प्रवर्द्धनका लागि पदमार्ग आकर्षक हुन्छ,’ उनले भने, ‘पदमार्गको यात्रा गर्दा ७ किमिमा दुवै वडा पार गर्न सकिन्छ ।’

Page 10
अर्थ वाणिज्य

वीरगन्ज चिनी कारखानाको जग्गामा निर्माण कार्य रोक्न अर्थ मन्त्रालयको निर्देशन

- भूषण यादव

(वीरगन्ज)
वीरगन्ज चिनी कारखानाको जग्गामा निर्माण कार्य रोक्न अर्थ मन्त्रालयले पर्साका दुईवटा स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले मंसिर २२ मा कारखानाको जग्गामा भइरहेको निर्माण कार्य तथा अतिक्रमण रोक्न वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई निर्देशन दिएको हो । स्थायी निर्माण कार्य नरोकिए स्थानीय प्रशासन ऐन बमोजिम कारवाहीको चेतावनी समेत अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले दिएको छ । गत मंसिर २० मा कारखानाको जग्गामा भइरहेको निर्माण कार्य रोक्न, अतिक्रमण हुन नदिन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय पर्सालाई र संघीय मामिला तथा सामान्य मन्त्रालायमार्फत वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयका शाखा अधिृकत तोयानाथ सापकोटाद्वारा हस्ताक्षर पत्रमा उल्लेख छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले समेत यस सम्बन्धमा आवश्यक पहल गर्न समेत निर्णय गरेको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगन्जबाट संरक्षण तथा रेखदेख हुँदै आएको वीरगन्ज चिनी कारखानाको क्षेत्रभित्र रहेको जमिनमा वीरगन्ज महानगरपालिकाले स्थायी संरचना निर्माण गरिरहेको छ । वीरगन्जले शिवको मूर्ति स्थापना र पुरानो मन्दिर सौन्दर्यीकरणको काम गरिरहेको छ । यसैगरी चिनी कारखानाको पोखरिया नगरपालिकाको पोखरिया बजारमा रहेको डेढ कठ्ठा जग्गामा ६ वटा सटरसहितको घरका सम्बन्धमा समेत पोखरिया नगरपालिका तथा स्थानीय बीच पटक/पटक विवाद भइरहेकोले उक्त अतिक्रमण तथा निर्माण कार्य रोक्न कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पहल भए पनि स्थायी समाधान निस्किएको छैन् । उक्त जग्गामा पोखरिया नगरपालिकाको बोर्डले पर्यटन प्रबर्द्धनका लागि घन्टाघर निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय स्तरमा समाधान हुने नदेखिएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले गत मंसिर १४ मा अतिक्रमण तथा निर्माण कार्य रोक्न लगाई कारखानाको सम्पत्ति संरक्षणका लागि मन्त्रालायलाई पत्राचार गरेको थियो । अर्थ मन्त्रालयको पत्रमा ‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ५(५) मा जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने काम, कर्तव्य र अधिकार प्रमुख जिल्ला अधिकारीको भएको साथै सार्वजनिक जग्गा नेपाल सरकारको पूर्व स्वीकृति नलिई कसैले आवाद गर्न वा आवाद गर्ने अनुमति दिनु हुँदैन,’ उल्लेख छ । आवाद गरेमा वा गर्न अनुमति दिएमा सो गर्ने वा अनुमति दिने व्यक्तिलाई विगो बमोजिम जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको पत्र मार्फत जनाइएको छ ।
त्यसैगरी गाउँपालिका तथा नगरपालिकालाई पालिका क्षेत्रभित्रको सम्पत्तिको संरक्षण रेखदेख तथा अन्य प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ मा छ । ‘यसरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने निकाय स्वयम्ले अनाधिृकत ढंगबाट जग्गाको स्वामित्वप्राप्त निकायको सहमति वेगर स्थायी संरचना निर्माण गर्ने कार्य कानूनसम्मत देखिदैन्,’ अर्थको पत्रमा उल्लेख गरिएको छ ।
पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन चौहानले नगरपालिकाको विकास निर्माण कार्यमा अवरोध सृजना गर्न खोजिएको बताउँछन् । स्थानीय केही नेताले मेरो कार्यकालमा घन्टाघर नबनोस् भन्ने उद्देश्यले षडयन्त्र गरेको चौहानको आरोप छ । ‘वीरगन्ज चिनी कारखाना सञ्चालन हुने समयमा उक्त जग्गामा खपडाको घरमा कार्यालय थिए,’ नगर प्रमुख चौहानले भने, ‘त्यही जग्गामा नगरपालिकाले घन्टाघर निर्माण गर्ने निर्णय गरेको छ ।’ उनका अनुसार सुरुमा उक्त जग्गाको स्वामित्वको सम्बन्धमा जानकारी थिएन् । पुरानो संरचना हटाउन पुग्दा प्रहरीले रोकेपछि आफूलाई जानकारी भएको प्रमुख चौहानले बताए । ‘अहिले स्वामित्व बारे बुझ्दा उक्त जग्गा वीरगन्ज चिनी कारखानाको नाममा नभई नेपाल सरकारको नाममा रहेको बुझिएको छ,’ उनले भने, ‘कानुनी प्रक्रिया पुर्‍याएर नै उक्त जग्गामा घन्टाघर निर्माण गर्छौ ।’

अर्थ वाणिज्य

धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं (कास)– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड र प्राधिकरणले बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीहरूलाई प्रिमियम (बढी मूल्य)मा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा एक दर्जन बढी सेयर लगानीकर्ताले उनीहरूविरुद्ध उजुरी हालेका हुन । उजुरीमा बोर्ड र प्राधिकरणले बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफसहित चार वटा बिमा कम्पनीहरूलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आव्हानपत्र स्वीकृत गरी कानुन विपरितको कार्य र अख्तियार दुरुपयोग गरेको आरोप लगाइएको छ । ‘ती निकायहरूले हिमालयन रि–इन्स्योरेन्सलाई अंकित मूल्यभन्दा बढी सर्वसाधारणबाट रकम माग गर्ने गरी आह्वानपत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकाले यसअघि भए गरेका गैरकानुनी कार्यहरू बदर गराउन, हुन लागेका गैरकानुनी कार्य रोकिपाउन र जो जो संलग्न छन्, दोषीउपर प्रचलिचत कानुन अनुसार हदैसम्म कडा कारबाही गर्न माग गर्दछौं,’ उजुरीमा भनिएको छ ।
बिमा ऐन २०७९ मा बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने प्रावधान छ । यस्तै, बोर्डबाट लगानीकर्ताको हित प्रतिकूल र अपारदर्शी रूपमा मनलाग्दी प्रिमियम राखेर साधारण सेयरको प्रिमियम मूल्य निर्धारण गरी घोराही सिमेन्ट लगायतका प्रकरणमा नीतिगत भ्रष्टाचार समेत भइरहेकाले सोको छानबिनको माग पनि उजुरीमा गरिएको छ ।

Page 11
समाचार

महालेखा र सार्वजनिक लेखाको प्रतिवेदन

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७५/७६ को बजेट भाषणमार्फत इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क (टीएससी) लिने घोषणा गरेका थिए । त्यसअघि ब्रोडब्यान्ड सेवामा टीएससी थिएन । योसँगै इन्टरनेटको शुल्क वृद्धि भएकोबारे सेवा प्रदायक कम्पनीले ग्राहकलाई सूचना पठाएपछि चौतर्फी विरोध भयो । लगत्तै सरकारले मूल्य समायोजन समिति बनाएर सेवा प्रदायकले सेवा प्रदान गर्दाको बिलमा कुल अंकको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लगाउन पाउने र त्यसमा टीएसएसी नलगाउने निर्णय गरेको थियो ।
त्यो बेला सञ्चार मन्त्रालयले अर्थ मन्त्रालय र दूरसञ्चार प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पठाएको पत्रमा इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने इन्टरनेटबाहेकका अन्य गैरदूरसञ्चार सेवामा दूरसञ्चार सेवा शुल्क नलाग्ने उल्लेख गरेको थियो । त्यसको एक वर्षपछि भएको दूरसञ्चार नियमावलीको नवौं संशोधनमा आईएसपीहरूले ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लगाउन पाउने उल्लेख भए पनि दूरसञ्चार सेवा भनेको के हो वा के होइन भनेर स्पष्ट खुलाइएको छैन । तथापि, नियमावलीको अनुसूचीमा मर्मतसम्भार विषय सूचीकृत नभएकाले यो गैरदूरसञ्चार सेवा भएको आईएसपीहरूको ठहर छ ।
महालेखा परीक्षकको ५५, ५६ र ५८ औं प्रतिवेदनले सञ्चार मन्त्रालयको नाममा लगातार दूरसञ्चार बेरुजु देखाएपछि विवाद चुलिएको हो । २०७८ सालमा प्रकाशित महालेखाको ५८ औं प्रतिवेदनले इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहकसँग असुलेको मर्मतसम्भार र सपोर्ट चार्ज गरी दुई अर्ब ७३ करोड ७० लाख र सो रकमबापत हुने ४ प्रतिशत रोयल्टी करिब १० करोड दाखिला गर्नॅपर्ने औंल्याएको थियो । मन्त्रालयले बेरुजु चुक्ता गर्न ताकेता गरेपछि वर्ल्डलिंक कम्युनिकेसनले सर्वोच्च अदालतमा मुद्दासमेत हाल्यो । सर्वोच्चले २०७७ असारमा उक्त बेरुजु रकम नउठाउन अन्तरिम आदेश दियो । उता, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको २१ र २२ औं वार्षिक प्रतिवेदनमा मर्मतसम्भारबापत ग्राहकसँग लिइने शुल्कमा कर नलाग्ने भनिएको छ । ‘लेखा समितिको एउटा प्रतिवेदनमा सपोर्ट चार्ज, वार्षिक मर्मतसम्भार, टेक्निकल चार्ज र मनिटरिङ चार्जजस्ता गैरदूरसञ्चार सेवामा आरटीडीएफ र रोयल्टी नलाग्ने भएकाले बेरुजु लगत हटाउनु भने पनि अर्को प्रतिवेदनमा असुल गर्नॅ भनिएकाले समितिकै बुझाइमा अलमल देखिन्छ,’ सञ्चार मन्त्रालयका अधिकारी भन्छन् ।
सेवा प्रदायकले प्रतिमहिना करिब ५० करोड रुपैयाँको ब्यान्डविथ भित्र्याउँदै आएका छन्न् । तिनले यसपालि भारतीय कम्पनीलाई ८ महिनाको करिब ४ अर्ब रुपैयाँ बुझाउन बाँकी छ । इन्टरनेटलाई अत्यावश्यक सेवा मानिएकाले विदेशी मुद्रा सिफारिसमा रोक लगाउन नपाइने सेवा प्रदायकको भनाइ छ । बेरुजुसम्बन्धीको यो विषयमा केही कानुनी जटिलता, सेवा प्रदायकसँग सरकारको प्रतिबद्धता र त्यसले सिर्जना गरेको विवाद भएको प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । ‘महालेखा परीक्षका तीन प्रतिवेदनले बेरुजु हो, असुल गर्नॅ भनेकाले मन्त्रालय र प्राधिकरणले त्यसै गर्न खोज्दा लेखा समितिले बेरुजु होइन भनिदियो,’ उनले भने, ‘तर पछिल्लो समय सञ्चार मन्त्रालय र हामीबीचको पत्राचारअनुसार असुलीका लागि प्रक्रिया अघि बढेको र कारबाहीसमेत भएको छ । हामीले पछिल्लो समय तीन महिनाभित्र सम्पूर्ण बक्यौता जम्मा गर, गरेनौ भने अनुमतिपत्रसमेत खारेजीको प्रक्रिया अघि बढाउँछौं भनेका छौं ।’

समाचार

लागूऔषधको शंकास्पद घटनाले मल्लाह परिवारलाई सास्ती

दर्जनभन्दा बढी स्थानीयसागको कुराकानी, प्रहरीले लगाएको आरोप र उक्त दिनको गतिविधि हेर्दा यो घटना शंकास्पद देखिन्छ
- दीपेन्द्र बडुवाल

(रूपन्देही)
रूपन्देहीको मायादेवी–२ का ३६ वर्षीय प्रभु मल्लाह बुटवलको मिलनचोकमा तरकारी बेच्दै थिए । त्यत्तिकैमा उनको फोन बज्यो । फोनमा भतिजको हतास स्वर सुनिन्थ्यो । उनी भनिरहेका थिए, ‘काका छिटो आउनूस् ।’ घर पुगेपछि पो उनले थाहा पाए, उनकी श्रीमती सन्ध्यालाई प्रहरीले लागूऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा पक्राउ गरेर लैजाने तरखर गर्दै रहेछ ।
असोज ९ गतेको साँझको यो घटनापछि विपन्न परिवारका प्रभुले पाएको सास्तीको कथा एकातिर छ भने अन्तर्यमा देखिएका केही शंकास्पद विवरणले प्रहरीको भूमिकामाथि प्रश्नचिह्न खडा गर्छ । कान्तिपुरले दर्जनभन्दा बढी स्थानीयसँग कुरा गरेर संकलन गरेको विवरण, प्रहरीले लगाएको आरोप र उक्त दिनको घटनाक्रम हेर्दा पक्राउको यो घटना शंकास्पद देखिन्छ । स्थानीयका अनुसार उक्त दिन सादा पोसाकमा एक महिला र अर्का पुरुष प्रहरी स्थानीय रमही मल्लाहको घरमा पुगेका थिए । यसरी पुग्ने सादा पोसाककी महिला प्रहरी लागूऔषध किन्न खोजिरहेकी थिइन् भने त्यतिबेलै सादा पोसाकका पुरुष प्रहरीले सूर्यपूरा चौकीमा फोन गर्न थालेका थिए । त्यतिबेलै सादा पोसाकका प्रहरीमाथि रमहीका परिवारले हातपात गरेका थिए । थप प्रहरी बल घटनास्थलमा आइपुगेपछि रमही परिवार दक्षिणतर्फ भागे । भाग्नेहरूलाई लखेटने क्रममा नजिकै घरकी सन्ध्या टेलिफोनमा कुरा गरिरहेकी थिइन्, त्यही अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्‍यो ।
स्थानीय बासिन्दा र कान्तिपुरको सम्पर्कमा आएका प्रहरी स्रोतले पनि सन्ध्याको पृष्ठभूमि लागूऔषध कारोबार वा अन्य कुनै अपराधमा संलग्न नरहेको सुनायो । प्रभु पुग्दा सन्ध्यालाई पक्राउ गरेर रमहीको घरमा पुर्‍याइएको थियो । घटनाका प्रत्यक्षदर्शी जोगिन्दर लोधले प्रहरीले मुचुल्कामा पाँच जनाको हस्ताक्षर जरुरी रहेको बताउँदै स्थानीयलाई हस्ताक्षर गर्न दबाब दिएको तर कागजमा लेखिएको विवरण भने पढ्न नदिएको बताए । ‘मैले मुचुल्का पढ्न दिनूस् भने,’ उनले भने, ‘कागजको बीचमा खाली राखिएको थियो, सन्ध्यालाई लगेर मोबाइल जाँच गरेपछि छाड्छौं भने, त्यसपछि गाउँलेले सही गरे ।’ प्रहरीको डरकै कारण स्थानीयले कागजमा हस्ताक्षर गरेको र पछि त्यसमा ‘लागूऔषध कारोबारमा संलग्नका कारण पक्राउ गरिएको’ भन्ने विवरण मुचुल्कामा लेखिएको थाहा पाएको उनले बताए ।
सन्ध्यालाई पक्राउ गरेको डेढ घण्टापछि गाउँ पुगेका प्रभुले आफूलाई प्रहरीले लागूऔषध कारोबार गरिरहेको अवस्थामा सन्ध्यालाई पक्राउ गरेको बताएका थिए । ‘सन्ध्याको हातमा भएको मोबाइलबारे बुझ्नुपर्ने भनेर झुक्याएर कागज गराए । मुचुल्कामा त सन्ध्याको हातमा लागूऔषध भेटिएको उल्लेख रहेछ,’ उनले भने, ‘प्रहरीले गाउँलेलाई झुक्यायो, मेरो परिवारको बिजोग बनायो ।’
घटनाका भोलिपल्ट स्थानीय ट्र्याक्टरमा चढेर इलाका प्रहरी कार्यालय सूर्यपूरा पुगे । प्रहरीले सन्ध्यालाई अनुुुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइसकेको जानकारी दियो । उनीहरू लुम्बिनीमा पुगेर बुझ्दा सन्ध्यालाई भैरहवास्थित प्रहरी कार्यालय लगिसकेको जानकारी पाए । स्थानीयका अनुसार अहिले सन्ध्यालाई इलाका प्रहरी कार्यालय बेथरीको थुनुवा कक्षमा राखिएको छ ।
पत्नी पक्राउ परेदेखि प्रभुले तरकारी कारोबार छाडेका छन् । कान्छो छोरालाई मावली पठाएका छन् भने दुई छोरालाई दाजु–भाउजू, बुहारीले आलोपालो खाना खुवाइरहेका छन् । प्रभु भने श्रीमती छुटाउन कहिले कहाँ कहिले कहाँ भौंतारिरहेका छन् । ‘श्रीमती पक्राउ परेपछि नियमित आम्दानी गुम्यो,’ उनले भने, ‘छुटाउन दौडधुप गर्दागर्दै खर्च नभएर जग्गा बन्धकी राख्नुपर्‍यो ।’ दौडधुपमा लाग्ने खर्च जुटाउन प्रभुले कमाएर खाइरहेको चार कट्ठा जमिन एक लाख रुपैयाँमा बन्धकी राखेका छन् । ‘तीन महिना भनसुन, थाना, प्रहरी चौकी धाउँदै बित्यो,’ उनले भने, ‘सरकारी वकिलकहाँ जान्छु, मिसिल के भयो भन्छु, माथिबाट आएको छैन भन्दै फर्काउँछन् ।’
बिहीबार प्रभुको घरमा पुग्दा सन्ध्याले चलाउने लुगा सिउने मेसिन एउटा कुनामा थन्किएको थियो । प्रभुको कोठामा एक थान सिलिन्डर, ग्यास चुलो, केही थान थाल, लोटा र बाटा असरल्ल थिए । प्रभुकी दिदी मुन्नी मल्लाहका अनुसार घटनाको दिन सन्ध्या आफ्नो दाइसित मोबाइलमा फोन गरिरहेकी थिइन् । उनले भनिन्, ‘त्यहीबेला पुलिस आएर घरभित्र पसेर पक्राउ गरेर लग्यो ।’ उनले अन्तै बरामद भएको लागूऔषध ल्याएर सन्ध्यालाई फसाइएको दाबी गरिन् । स्थानीय पुनरवासी गुप्ताले सबै गाउँलेले स्थानीयदेखि जिल्ला प्रहरीसम्म पुगेर यथार्थ बताउँदा पनि केही नभएको बताए । अनौठो त के छ भने घटनाको तीन महिना हुनै लाग्दा पनि फरार रहेका रमही मल्लाहसहित ५ जनालाई प्रहरी पक्राउ गरिसकेको छैन ।
जिल्ला प्रहरी रूपन्देहीका प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले स्थानीय रमही मल्लाहको घरको कम्पाउन्डभित्र लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सन्ध्यालाई पक्राउ गरेको बताए । ‘रमहीको घर अगाडिबाट सन्ध्यालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘जाँच गर्दा सन्ध्याको हातमा रहेको कालो प्लास्टिकमा ३३ ग्राम १ सय १० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।’ उक्त घरमा खानतलासीका क्रममा गोठबाट थप ३३ ग्राम ४ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको उनले दाबी गरे । सन्ध्याले सोधपुछका क्रममा आफूले एक पटक लागूऔषध कारोबार गरेको स्विकारेको डीएसपी भट्टको दाबी छ । इलाका प्रहरी लुम्बिनीले घटनाको अनुसन्धान गरेर फाइल जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाइसकेकाले लागूऔषधसम्बन्धी मुद्दामा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने उनले बताए ।

Page 12
खेलकुद

शीर्ष चारको टुंगो लाग्दै

पोखरा थन्डर्सले शनिबार महìवपूर्ण जित निकाल्दै प्लेअप पुग्ने बाटो तय गर्दै
- हिमेश

(काठमाडौं)
लिग चरणका ९ खेलमात्र बाँकी छँदा दोस्रो संस्करणको नेपाल सुपर लिगले सम्भवतः त्यो आकार लिएको छ, जसले प्लेअफ खेल्ने चार टिम भन्न सक्नेछ । शनिबार डबल–हेडरका खेल सकिँदा शीर्ष चारमा रहेका नै क्वालिफायर/इलिमिनेटरका लागि बलियो प्रत्याशी देखिएका छन् । नयाँ खेल तालिकाअनुसार जतिबेला डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले धनगढी एफसीको सामना गर्नेछ र त्यति बेला त्यसको नतिजा आउँदा शीर्ष चारको समीकरण अझ प्रस्ट हुनेछ ।
अहिलेका लागि गत संस्करणको उपविजेता धनगढी एफसी नै शीर्षमा रहेको छ । टोलीको खातामा ५ खेलबाट ११ अंक छ । पोखरा थन्डर्स पनि समान ११ अंकसहित दोस्रो स्थानमा पुगेको छ । गोल अन्तरमै मात्र पोखरा दोस्रोमा रहेको हो । पोखरा र धनगढी पनि एकआपसमा भिड्न बाँकी छ । पोखरा पछिल्लो संस्करणमा प्लेअफ पुग्न सकेको थिएन । त्यतिबेला काठमाडौं, धनगढी र ललितपुर भने क्रमशः शीर्ष तीनमा रहेर अर्को चरण पुगेको थियो । बुटवल–लुम्बिनी एफसी चौथोमा आएको थियो ।
अहिले यही बुटवल–लुम्बिनी भने ६ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ । धनगढी र ललितपुर सिटी त्यस्ता दुई टिम छन्, जसले अपराजित यात्रा कायम राखेको छ । पोखराले दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा निकालेको जित महत्त्वपूर्ण रह्यो । प्रशिक्षक नवीन न्यौपानेले माने, यो वास्तवमै महत्त्वपूर्ण जित हो । उनले भने, ‘यो खेलको नतिजाले हामी प्लेअफ पुग्ने छौं वा छैनौं, त्यो निर्धारण गर्न सक्थ्यो । हारेको भए गाह्रै हुन सक्थ्यो ।’

पहिलो हाफमा तीन गोल
पोखराले हात पारेको आफ्नो तेस्रो जितको तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । तीनै गोल विदेशी खेलाडीको नाममा रह्यो । पहिलो हाफमा पोखरा २–१ ले अगाडि थियो र अन्त्यमा त्यही स्कोर कायम रह्यो । खेलको छैटौं मिनेटमा जोए आइडुको गोलले पोखरा अगाडि रह्यो । उनले पेनाल्टी एरियाको ठीक बाहिर प्राप्त बललाई शक्तिशाली प्रहार गर्दै गोल गरेका हुन् । त्यसमा वीरगन्ज युनाइटेडका गोलरक्षक दीप कार्कीसामु प्रतिक्रिया दिने अवसर पनि रहेको थिएन ।
वीरगन्जले लगत्तै ११ औं मिनेटमा बराबरी गोल फर्काएको थियो, एकिन्स बफोरको माध्यमबाट । सुशील लामाको क्रसमा बफोरले सुन्दर हेड गरे । पोखराको निर्णायक गोल पनि हेडबाटै निस्केको थियो । समय थियो पहिलो हाफ सकिँदै लाग्दा । त्यसयता दोस्रो हाफको खेल नीरस रह्यो । ‘हाम्रो डिफेन्समै समस्या रह्यो,’ वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले भने । हारपछि वीरगन्ज ६ खेलबाट ५ अंकसहित आठौं स्थानमा रह्यो ।

निराशाजनक बराबरी
डबल हेडरको दोस्रो खेल भने निराशाजनक रह्यो । खेल आफैं गोलरहित बराबरीमा टुंगियो । यो यस्तो नतिजा रह्यो, जसले न चितवनलाई फाइदा गर्‍यो न त स्पोर्टिङ इलामलाई राहत दिन सक्यो । इलामको कथा फेरि एकपल्ट उही रह्यो । आक्रमण बुन्ने प्रयास भए पनि त्यसलाई निर्णायक रूप दिने । इलामका प्रशिक्षक मेघराज केसीको भनाइ त्यस्तै रह्यो, यो टिमले पूरा प्रतियोगितामै सम्भवतः सबैभन्दा बढी आक्रमण बुनेको थियो, तर गोल भने बिरलै भयो ।
इलाम ७ खेलबाट ५ अंक लिएर सबैभन्दा पुछारमा छ । टोलीको प्लेअफ समीकरण औपचारिक रूपमै समाप्त भएको छ । इलामको अन्तिम खेल एफसी झापाविरुद्ध छ । त्यसमा जित निकाले पनि टोलीको ८ अंकमात्र हुनेछ । चौथोमा रहेको काठमाडौंको अहिले नै ८ अंक छ । ‘हेड टु हेड’ मा इलाम काठमाडौंको पछाडि छ । इलाम आफ्नो पहिलो डेब्यु खेलमै काठमाडौंसँग पराजित भएको थियो । अब अन्तिम खेल टोलीका लागि औपचारिक मात्र हुनेछ । त्यसैले टोलीले प्रतिष्ठाकै लागि मात्र खेल्नेछ ।
चितवनको पनि ७ खेलबाट ६ अंकमात्र छ । टोली सातौं स्थानमा छ । बराबरीले चितवनको स्थिति पनि नाजुक बनेको छ । चितवनले आफ्नो अन्तिम खेलमा झापाको सामना गर्नेछ । यो खेल जितेमा पनि टोलीको अंक ९ पुग्नेछ । त्यो स्थितिमा टोलीको प्ले–अफ सम्भावना गणितीय मात्रै हो । तेस्रोमा रहेको ललितपुरको अहिले नै १० अंक भइसकेको स्थितिमा चितवनले बढीमा ताक्ने भनेको चौथो स्थान हो, जसको सम्भावना पनि अत्यधिक रूपमा कममात्रै छ ।

पोखरा २–१ वीरगन्ज
चितवन ०–० इलाम

खेलकुद

सत्यवती च्याम्पियन

- चित्रांग थापा

(धनगढी)
अत्तरियाको सत्यवती एकेडेमीले आठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ । सत्यवतीले फाप्ला क्रिकेट मैदानमा शनिबार फाइनलमा धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले हराएको थियो ।
रोमाञ्चक खेलमा १ सय २७ रनको लक्ष्य पछ्याएको धनगढीले १९.२ ओभरमा सबै विकेट गुमाई १ सय २१ रनमात्र बनायो । वसन्त कार्कीले ३५, सुनील धमलाले २८ र अमरसिंह राउटेलाले २७ रनको योगदान दिए । ३६/५ को स्थितिमा पुगेको धनगढीका लागि वसन्त र भुवनले छैटौं विकेटमा ३३ रनको साझेदारी गरेका थिए । सातौं विकेटमा वसन्तले अमरसिंहसँग ४३ रन जोडे । १८ औं ओभरमा अभिषेक कोइरालाले अमरसिंहको विकेट लिँदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृतराज दासले वसन्त कार्की र दीपक चन्दको विकेट लिएका थिए ।
जितका अन्तिम ओभरमा १० रन आवश्यक हुादा धनगढी स्पोर्ट्स क्लबसँग १ विकेट थियो । अन्तिम ओभर बलिङ गरेका सन्दीप खत्रीले पहिलो बलमा वाइड र दोस्रो बलमा २ रन दिएपछि तेस्रो बलमा विकास अग्रीलाई अन्तिम विकेटको रुपमा गुमायो । प्लेयर अफ द म्याच अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए । उनले त्यसका लागि ४ ओभरमा १५ रन खर्चिए । तृतराज दासले २, फिर्दोष अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १–१ विकेट लिए ।
यसअघि टस जितेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनायो । पाँचौं नम्बरमा ब्याटिङ गरेका सन्दीप रजालीले ४१ रन बनाए । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । तृतराजले १३ बलमा २७ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरे । फिर्दोष अन्सारीले २२, सन्तोष कार्की र समीर कार्कीले १० रन बनाए ।
पावर प्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटमा सन्दीप र फिर्दोशले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे । आठौं विकेटमा तृतराज र समीरले अविजित ३६ रनको साझेदारी गरे । धनगढीका दीपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले २–२ विकेट लिए ।
विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर धनगढी स्पोर्ट्सका कप्तान भुवन कार्की घोषित भए । उनले ५ खेलमा १२ विकेट लिए । उत्कृष्ट ब्याटर शुक्लाफाँटा ब्ल्याकबक्सका किरण ठगुन्ना भए । उनले ३ खेलमा १ सय ३४ रन बनाएका थिए ।
उदीयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल भए । विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले पुरस्कृत गरे ।

खेलकुद

अरहान्त र विपना विजेता

काठमाडौं (कास)– अरहान्तकेशर सिंह र विपना ब्लोन एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगितामा च्याम्पियन भएका छन् ।
सातदोबाटोमा शनिबार पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरेका थिए । अरहान्तको खेलजीवनको यो १४ औं एकल उपाधि हो । महिला एकल फाइनलमा विफनाले वृष्णा थापालाई ११–८, ८–११, ११–६, १३–११ ले हराइन् ।
यू–१९ गर्ल्समा साक्षी सुनुवार फाइनलमा रेनेशा महर्जनलाई ११–२, ११–१, ११–२ ले हराएर च्याम्पियन बनिन् । स्पर्धा ब्वाइज फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई ११–७, १२–१४, ११–६, ११–४ ले हराए । मास्टर्स ५० वर्षमाथि छविलाल पाइजा पुनले प्रज्ज्वल प्रधानलाई ३–१ सेट र प्लेट च्याम्पियन्सिपमा पासाङ ब्लोनले दिव्यराज वज्राचार्यलाई ३–० को सोझो सेटमा हराए । नेपाल स्क्वास र्‍योकेट्स संघ स्थापनाको ३५ वर्ष पुगेको अवसरमा उक्त प्रतियोगिता आयोजना भएको हो ।
भावना र राजेन्द्रको संन्यास नेपाल स्क्वास र्‍याकेट्स संघले प्रतियोगिता समापनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट संन्यास लिएका खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यलाई सम्मान गरेको थियो । दुवैले घरेलु प्रतियोगितालाई भने निरन्तरता दिनेछन् ।
दुई दशकदेखि स्क्वासमा समर्पित भावना घरेलु महिला स्क्वासकी प्रभावशाली खेलाडी हुन् । चार पटक दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिएकी भावनाले दसौं कोलम्बो, १२ औं गुवाहाटी र १३ औं काठमाडौं सागमा नेपाललाई महिला टिम इभेन्टमा कांस्य पदक दिलाएकी थिइन् । एसियाली खेलकुद खेलिसकेका राजेन्द्र संघका केन्द्रीय सदस्य पनि हुन् ।