You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा

सहकारीको बचतबाट १५ प्रतिशत सेयर
- कृष्ण आचार्य

(काठमाडौं)
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख र बैंकिङ कारोबार विवरण भन्छन्– सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिएका थिए ।
कान्तिपुरले सहकारीका अभिलेख तथा प्रतिवेदन मात्र होइन, गोर्खा मिडिया नेटवर्कका नाममा भएका बैंकिङ कारोबार, कम्पनी रजिस्ट्रारको कार्यालयका दस्ताबेज पनि प्राप्त गरेको छ, यी विवरणअनुसार लामिछानेले गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) पाएकै थिएनन्, बरु सर्वसाधारणले पसिनाको कमाइबाट सहकारीमा जम्मा गरेको बचत उठाएर गोर्खा मिडियामा सेयर लिएका थिए र जाने बेलामा सेयर बेचेबापत आएको रकम खातामा सारेका थिए ।
लामिछानेले कामबापतको हिस्सा पाएको दाबी गर्दै आएका छन् । टेलिभिजनबाट बिदा हुने दिन उनले आफ्नै कार्यक्रमबाट दर्शकलाई भनेका थिए, ‘यस टेलिभिजनसँग सहकार्य गर्दा मैले आफ्नो पसिनालाई नै आफ्नो थोरै सेयरका रूपमा लिएको हुँ । आज दिउँसो यो सेयर जस्ताको त्यस्तै यो कम्पनीलाई ससम्मान बुझाएर निस्कँदै छु ।’ उनले ‘स्वेट सेयर’ लिएको विषय सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमसँग प्रतिक्रिया दिने क्रममा पनि दोहोर्‍याउँदै आएका छन् ।

लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा आबद्ध भएको सार्वजनिक घोषणा २०७७ फागुनमा गरेका थिए । तर, सेयर प्राप्त गर्न आर्थिक कारोबार भने त्यसअघि माघबाटै सुरु भएको थियो ।
कम्पनी रजिस्ट्रार कार्यालयमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेका छन् ।
त्यस्तै बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको थियो । यो कारोबार सुप्रिमको प्रतिवेदनमा मात्र होइन, ग्लोबल बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खाता नं. ०४०१०१००००५७७ को स्टेटमेन्टमा पनि देखिन्छ ।
रकम जम्मा गर्नेमा लामिछानेसहित सुप्रिमकी कर्मचारी रोशनी गुरुङको पनि नाम छ । ‘म त सामान्य कर्मचारी हुँ, सञ्चालक सरहरूले रवि लामिछाने सरको नामबाट पैसा जम्मा गर्न पठाउनुभयो, बैंकले मेरो पनि नाम राख्न भनेकाले राखेकी हुँ । यो रकम सहकारीको बचत हो, किन पठाइएको हो भन्ने मलाई थाहा भएन, अह्राएको काम गरेकी हुँ,’ उनले कान्तिपुरसँग भनिन् ।
सहकारीबाट पैसा कसले निकाल्यो ? गोर्खा मिडिया नेटवर्कको खातामा किन जम्मा गर्‍यो ? यो विषयमा आफूलाई जानकारी र सरोकार नभएको दाबी लामिछानेले गर्दै आएका छन् । तर आफैंले जम्मा गरेको ७५ लाख र बुटवलको सुप्रिम सहकारीबाट
आफ्नो नाममार्फत ट्रान्सफर गरिएको एक करोड कारोबारको विवरण लामिछानेसमेतले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेका थिए । कार्यालयले उक्त कारोबार रुजु गरेपछि गोर्खा मिडियाको १५ प्रतिशत सेयर लामिछानेका नाममा सदर गरिदिएको हो । वैशाख ५ मा बुटवलको सुप्रिमबाट एक करोड आएको १० दिनपछि अर्थात् १५ वैशाख २०७८ मा लामिछानेको नाममा सेयर कायम भएको हो ।
विभिन्न स्रोत तथा सहकारीबाट पैसा जम्मा गरेर जीबी राईले ६ लाख कित्ता (५० प्रतिशत), पूर्वडीआईजी छविलाल जोशीले ४ लाख २० हजार कित्ता (३५ प्रतिशत) र रवि लामिछानेले १ लाख ८० हजार कित्ता (१५ प्रतिशत) सेयर बाँडफाँट गरेका थिए । तत्कालीन अवस्थामा राई अध्यक्ष, जोशी उपाध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक थिए ।
आपसी असमझदारीपछि उपाध्यक्ष जोशी कम्पनीबाट अलग भएका थिए । जोशीको ३५ प्रतिशत सेयर २०७८ पुस ७ मा जीबी राईले खरिद गरे । यो बीचमा राईको सेयर ८५ प्रतिशत पुग्यो भने लामिछानेको १५
प्रतिशत नै कायम रहेको थियो । त्यसको ६ महिनापछि अर्थात् २०७९ असार २ गते लामिछाने पनि कम्पनीबाट निस्किए । अघिल्लो दिन असार १ मा लामिछानेले टेलिभिजनको पर्दामै उपस्थित भएर आफू कम्पनीबाट अलग भएको घोषणा गरे ।
‘स्वेट सेयर’ भने पनि कम्पनी छाड्दा उनले आफ्नो सेयर गितेन्द्रबाबु (जीबी) राईलाई नगदमै बेचेको पुष्टि कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलिखित दस्ताबेजबाट खुलेको छ । यसक्रममा प्राइम कमर्सियल बैंकमा जीबी राईका नाममा रहेको खाताबाट ग्लोबल बैंकमा रहेको रवि लामिछानेको खातामा सिधै १ करोड ८० लाख ट्रान्सफर गरिएको थियो । यसरी सुप्रिम सहकारीको बचतबाट लिएको सेयर बेच्दा लामिछानेले आफ्नो खातामा पैसा लिएका थिए । लामिछानेको खातामा चेक जम्मा भएकै दिन २०७९ असार २ मा गोर्खा मिडिया नेटवर्कमा राईको सेयर शतप्रतिशत कायम भएको थियो ।
लामिछाने गोर्खा मिडियाबाट बाहिरिएको ९ महिनापछि २०८० वैशाखमा राईले गोर्खा मिडियाको १५ प्रतिशत सेयर आफ्नै जीबी ग्रुप अफ कम्पनिज र १७ प्रतिशत सेयर कुमार रम्तेललाई बेचेका थिए । बुटवलको सुप्रिम सहकारीमा कोषाध्यक्ष बनेर रकम हिनामिना गरेको आरोपमा मुछिएका रम्तेल पोखराको सूर्यदर्शन सहकारीको बचत मासेको आरोपमा अहिले पुर्पक्षका लागि थुनामा छन् ।
लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको दोहोर्‍याएका छन् । ‘स्वेट सेयर भन्नाले गुडविल सेयर हो । यो दुई पक्षबीचको समझदारीमा हुने कुरा हो । पैसा छैन, सामाजिक पुँजी छ भने त्यसलाई गुडविल सेयर दिने भन्ने समझदारी हुने गर्छ । मैले यसका लागि कुनै आर्थिक कारोबार गरेको छैन, उहाँहरूले कसरी मिलाउनुभयो, उहाँहरूकै
कुरा हो,’ उनले आइतबार साँझ पनि कान्तिपुरसँग दोहोर्‍याए ।
अझ, सेयर लिँदा सहकारीको रकम दुरुपयोग गरेको र ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा १ करोड ८० लाख आफ्नो खातामा लिएको विषय उनले सिधै इन्कार गरे । ‘छैन, छैन । मैले यति धेरै रकम प्राप्त गरेको छैन । १५ प्रतिशत सेयर लेनदेनको कागज मिलाउनलाई कम्पनीले केही गरेको हुन सक्छ । म यति धेरै पैसा भएको मान्छे हैन, मैले त्यतिकै छाडेको हुँ भनेर टेलिभिजनको अन्तिम शोमा भनेरै हिँडेको छु । मेरो खातामा पैसा आएको छैन । मसँग ग्लोबल आईएमई बैंकको मात्रै खाता छ । मेरो बैंक खाता पनि चेक गर्न सक्नु हुन्छ । मेरो खातामा पैसा आएको छैन । तिथि, मिति र खाता नम्बर हेरेर मात्रै भन्नुहोला,’ उनको भनाइ थियो । तर ग्लोबल आईएमईमा रहेको उनको खातामा २०७९ असार २ मा चेक नं. ००१३२८४०३७ बाट १ करोड ८० लाख जम्मा भएको छ ।
त्यतिमात्र होइन, अहिलेसम्म संकलन भएका विवरणअनुसार जीबी अध्यक्ष र रवि प्रबन्ध निर्देशक भएको कम्पनीले विभिन्न सहकारीका झन्डै ३५ हजार बचतकर्ताको करिब साढे ५२ करोड रकम ग्यालेक्सी टेलिभिजनका नाममा हिनामिना गरेको देखिन्छ ।
पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ विभिन्न मितिमा गोर्खा मिडियामा ल्याइएको थियो । यो समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी पनि बन्द भइसकेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीमा रवि लामिछानेका नाममा कृत्रिम पुलेसो खाता खोली १ करोड कारोबार गरेको महानगरको अध्ययन प्रतिवेदनमा उल्लेख छ । लामिछाने यी कुनै सहकारीका सदस्य होइनन् । तर, सदस्यबाहेक अरूमा कर्जा लगानी गर्न नपाइने स्पष्ट कानुनी प्रबन्ध भए पनि राईले लामिछानेलाई पैसा दिलाइदिएका थिए ।
आफ्नो पेसा व्यवसाय र सन्तानको शिक्षादीक्षाका लागि जम्मा गरेको बचत यसरी दुरुपयोग भएपछि विभिन्न सहरमा सर्वसाधारणको बिचल्ली भएको छ । रकम डुबेपछि बचतकर्ताहरू न्यायका लागि विभिन्न निकाय धाइरहेका छन् ।

मुख्य पृष्ठ

रुसी सेनामा भर्ती हुन पाइन्छ, छाड्न पाइँदैन

- होम कार्की,जगदीश्वर पाण्डे

(काठमाडौं)
रुसी सेनामा भर्ती भएका श्रीमान्को उद्धार गरिदिन भन्दै आरती क्षेत्रीले कन्सुलर विभागमा निवेदन दिएको ४७ दिन बितिसक्यो । फलेवास–२ पर्वतकी उनले गत मंसिर २० मा विभागमा निवेदन दिएकी थिइन् ।
तर, श्रीमान् कृष्णबहादुर कहिले नेपाल फर्किन्छन्, टुंगो छैन । रुसी सेनामा भर्ती हुन कृष्ण गत कात्तिक २ मा रुस पुगेका थिए । अहिले उनी रुसी सेनाले कब्जा गरेको युक्रेनको वद्रियासको सैन्य शिविरमा खटिएका छन् । ‘श्रीमान्सँगै भर्ना भएका धेरै साथी बेपत्ता भइसकेका छन् । उहाँको पनि हातमा चोट लागेको छ । स्थिति निकै कठिन छ,’ आरतीले भनिन्, ‘उहाँ आउन खोज्नुभएको छ । सकिराख्नुभएको छैन ।’

अछामका चक्रबहादुर कुँवरले आफूहरूलाई उद्धार गरिदिन भन्दै मंसिर २३ मा मस्कोस्थित नेपाली दूतावासमा निवेदन पठाएका थिए । उनले दूतावासलाई नगुहारेको दिन छैन । यता नेपालमा पत्नी पवन कुँवरको दिनरात चक्रबहादुरको चिन्तामै बितिरहेको छ । ‘श्रीमान् घाइते भएकाले रेडजोनमा लड्न जाने अवस्था छैन,’ कुँवरले भनिन्, ‘युक्रेन र रसियाबीच भइरहेको युद्धको वास्तविक अवस्था कसैलाई थाहा थिएन । अहिले थाहा पाउन ज्यानको बाजी नै लगाउनुपर्ने रहेछ ।’

कृष्ण र चक्रबहादुर मात्र नभएर रेडजोनमा युद्ध लडेका अधिकांश नेपाली आफैं पनि रुसी सेनासँगको सम्बन्ध तोडेर नेपाल फर्कन चाहन्छन् । उद्धारका लागि दूतावासहरूलाई अनुरोध गरेका छन् । उनीहरूका परिवारले पनि नेपाल फर्काइदिन सरकारलाई गुहारेका गुहारेकै छन् । तर, रुसी सेनामा भर्ना हुँदा गरेको सम्झौताका कारण उनीहरू आफूले चाहेको समयमा फर्कन पाएका छैनन् ।
गत कात्तिक ४ मा रुस पुगेका पोखराका ईश्वर खड्का एक महिनादेखि युक्रेनी भूभागमा बंकरमा बसिरहेका छन् । ‘मेरो अचानक कोखा दुख्यो, छाती दुख्यो । दुखेर कक्रकै थला परें । युद्ध लड्न नसकेपछि बंकर रुग्न लगाएको छ,’ खड्काले पठाएको भ्वाइस सन्देश छ, ‘मसँग एक जना लोकल मान्छे छन् । हामीबीच सञ्चार हुँदैन । उसको भाषा मैले बुझ्दिनँ, मेरो उसले बुझ्दैन । यस्तो ठाउँमा गुजारा गरेको एक महिना भइसक्यो । ढोका बन्द गर्दा एकदमै निसासिन्छ । राति ढोका खोलौं भन्दा दुश्मन आउला भन्ने डर छ । बाहिर एकदमै चिसो छ ।’
उनले मोबाइल पाउनेबित्तिकै उद्धारका लागि दूतावासमा अनुरोध गर्ने गरेको बताए । ‘यो इन्टरनेट पनि लोकलसँग अनुरोध गरेर एकैछिन चलाएको हो । हिजो मैले दूतावाससँग कुरा गरे । परिवारसँग पनि सम्पर्क गर्न पाएँ । हाम्रो २८ जनामा तीन जनाले ज्यान गुमाइसकेका छन् । बाँचेका २५ जनामा पनि केही साथीहरू घाइते छन्,’ उनले भने, ‘यहाँ परराष्ट्रमन्त्री आउने खबरले उत्साहित छौं । रुसमा रहेका सबै नेपालीको उद्धार हुनेमा आशावादी छौं । हामी २५ जनालाई एकै पटक फर्काउन सम्भव नभए पनि कमजोर मनस्थिति र नेपालमा हातहतियार नचलाएकाहरूलाई पहिला प्राथमिकता राखिदिन्छन् भन्ने आशा छ ।’

आँखै अगाडि धेरै साथी गुमाइसकेको भन्दै आफूहरू निकै कमजोर मनस्थितिबाट गुज्रिनुपरेको उनीहरूको भनाइ छ । ‘हामी टिकटकको भरमा लहैलहमा लागेर आइहालियो । एकदमै दुःख पाइयो । हिउँमा ड्युटी गरिराखेका छौं । फर्कन चाहन्छौं । यहाँबाट मान्छेलाई लड्न लगेको लग्यै छ । हामीलाई कहिले लैजान्छ थाहा छैन,’ कुँवरले भने, ‘हामी त चक्रव्यूहमा फसेको जस्तो लागिरहेको छ ।’
रुसले आफ्नो सेनामा अवैध रूपमा नेपालीलाई भर्ती गरेर युद्धमा पठाउँदै आएको छ, जसका कारण रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या बढिरहेको छ । तर, उनीहरूलाई फिर्ता गर्न नेपाल सरकारले गरेको अनुरोधलाई रुसले बेवास्ता गर्दै आएको छ । रुसी सेनामा भर्ती हुन पाइने तर सजिलै फर्किन नपाउने हुँदा एक प्रकारले नेपाली कैदीजस्तै भएका छन् । हालसम्म रुसी सेनामा भर्ती भएका कम्तिमा ११ नेपालीको ज्यान गइसकेको सरकारले औपचारिक पुष्टि गरिसकेको छ । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार रुसी सेनामा भर्ना भई सम्पर्कविहीन भएका एक सय १५ जनाको परिवारका तर्फबाट निवेदन परेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउन सरकारले रुस सरकारलाई आग्रह गरिसकेको छ । नेपालले भारत र बेलायतबाहेक अन्य मुलुकसँग नेपालीलाई सैन्य भर्ना गर्ने सम्झौता नभएको उल्लेख गर्दै रुसलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ । परराष्ट्रले काठमाडौंस्थित नेपालका लागि रुसी राजदूतलाई समेत बोलाएर त्यसबारेमा पटक–पटक कुराकानी गरिसकेको छ ।
मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पनि मस्कोमा रुसको विदेश मन्त्रालय पुगेर नेपाल सरकारको सन्देश सुनाएका थिए । तुलाधरले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए । साथै, नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मंसिर तेस्रो साता र पुसको पहिलो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो । तर रुसले नेपाललाई प्रस्ट रूपमा जवाफ दिएको छैन । युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग भेटवार्ता गरेका थिए । ‘भेटमा रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गर्‍यौं । नेपालले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्था भएको बाहेक अरू विदेशी सेनामा आफ्ना नागरिक पठाउने नेपालको नीति नरहेको जानकारीसमेत गराएँ,’ परराष्ट्रमन्त्री साउदले कान्तिपुरसँग भने, ‘साथै, भर्ना भएका नेपालीहरूलाई फिर्ता पठाइदिन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरेका छौं ।’
यसबारे रुसले प्रस्ट जवाफ नदिए पनि दुई मुलुकबीच सैन्य भर्ना सम्बन्धलाई लिएर कूटनीतिक कुराकानी थालनी भएको परराष्ट्रमन्त्री साउद मान्छन् । ‘मन्त्री तहमै पहिलो पटक यो समस्याबारे कुराकानी भयो । हामीले आफ्नो धारणा प्रस्टसँग राख्यौं । उहाँले पनि आफू मस्को पुगेर यसबारे छलफल गरेर नेपालस्थित राजदूतमार्फत जानकारी दिने पनि बताउनुभयो,’ उनले भने । साउदले रुसका तर्फबाट मृतकको परिवारलाई क्षतिपूर्ति दिने र शवलाई नेपाल पठाउन सहजीकरण गरिदिन भनिए पनि अहिले भर्ना गरिएका नेपालीलाई फिर्ता पठाउने विषयमा कुनै पनि जवाफ नआएको बताए । परराष्ट्रमन्त्री साउद आफैं रुस गएर त्यहाँको अवस्था बुझ्नका लागि गृहकार्य गरिरहेका छन् । उनले नेपालको कूटनीतिक माध्यममार्फत रुसलाई भ्रमण गर्नेबारेमा पनि जानकारी गराएका छन् ।
सरकारले नेपालीलाई फिर्ता ल्याउन गम्भीर पहल नगरेको भन्दै सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भने सरकार गम्भीर रूपमा लागेको बताउँछन् । ‘नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारे सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन । जोसँग सम्झौता भएका, विगतका भारत र इंग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति छैन,’ आइतबार युगान्डाबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीसँग दाहालले भने । उनले रुसलाई कूटनीतिक नोट पठाइएको जानकारी दिए । ‘राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावनाविपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ । सरकार गम्भीर छ । सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन,’ उनले भने ।

 

Page 2
Page 3
समाचार

मलेसियन कम्पनीसँगको सम्झौता कार्यान्वयनमा रोक

- होम कार्की

(काठमाडौं)
प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउन वैदेशिक रोजगार बोर्डले एक मलेसियन कम्पनीसँग गरेको सम्झौता तत्काल कार्यान्वयनमा नआउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यो सम्झौतालाई कार्यान्वयन नगर्न लिखित निर्देशन दिएको हो । यसबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई पत्र पठाएको छ ।
‘नेपाली श्रमिकहरूको राहत, उद्धारलगायतका कल्याणकारी कार्य गर्ने विषयमा भएको सम्झौता विभिन्न सरोकारवालासँग थप छलफल गरेर मात्रै टुंगोमा पुग्न आवश्यक भएकाले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न निर्देशन भएको हुँदा सोहीअनुसार आवश्यक कार्यान्वयनका लागि आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा बोर्डलाई पठाइएको पत्रमा भनिएको छ । गत मंसिर २० गते बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लूडब्लूएमसी)का महानिर्देशक तानासिलिन दिन्रेनगानबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता पुस १६ (जनवरी १) देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको थियो । परराष्ट्र मन्त्रालयले यो सम्झौता कार्यान्वयन नगर्न भनिसकेको छ ।
अपारदर्शी रूपमा गरिएको सम्झौता बाहिरिएलगत्तै मलेसिया सरकार र रोजगारदाताले समेत आपत्ति जनाएका छन् । त्यहाँको परराष्ट्र मन्त्रालयले शुक्रबार मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेललाई पुत्राजयमा बोलाएर उक्त सम्झौतालाई स्वीकार नगर्ने जानकारी दिएको छ । दुई देशबीचको सम्झौताविपरीत तेस्रो पक्षसँग गरिएको कुनै पनि सम्झौता कार्यान्वयन नगर्ने मलेसियाले प्रस्ट पारेको छ । त्यसअघि नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत मोहम्मद फिरदौस बिन आजमानले परराष्ट्र मन्त्रालयमा पुगेर आपत्ति जनाएका थिए ।
रोजगारदाताले समेत विरोध जनाएपछि सम्झौतामाथि मलेसियाका श्रम संसाधनमन्त्री स्टेभेन सिम र गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले पत्रकार सम्मेलन गरी आफूहरू यो सम्झौता लागू गर्न बाध्य नभएको जानकारी दिएका थिए । ‘यस विषयमा मन्त्रालयले अहिलेसम्म कुनै सहमति वा अनुमोदन गरेको छैन र यस्तो गर्दैन । आप्रवासी कामदारको कल्याणकारी सेवा प्रदान गर्न तेस्रो पक्षलाई पनि अनुमति दिइएको छैन,’ गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा मानव संसाधन मन्त्री सिमले भनेका थिए । मलेसियन गृहमन्त्री इस्माइलले दुई सरकारबीचको समझदारीपत्र मात्र लागू गर्न बाध्यकारी हुने बताए । मलेसियाले स्रोत देशसँग गरिएको सम्झौतामा पुनर्विचार गरिरहेको जनाएको छ । नेपाल–मलेसिया श्रम सम्झौताको अवधि गत कात्तिक १२ गते नै सकिएको हो । यसको नवीकरण भएको छैन ।
मलेसियन रोजगारदाताले नेपाली कामदारको कल्याणकारी काम गर्न तेस्रो पक्षलाई नियुक्ति गर्ने कार्यलाई अनावश्यक भन्दै नेपाली कामदारको भर्ना गर्न थप शुल्क तिर्न बाध्य पार्न नहुने बताएको छ । ‘नेपाल सरकारले तेस्रो पक्ष नियुक्त गरी मलेसियाली रोजगारदातालाई थप शुल्क तिर्न बाध्य पार्नु हुँदैन,’ एसोसिएसन अफ एम्प्लोइमेन्ट एजेन्सीका उपाध्यक्ष सुरेश तानले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘यो सम्झौता अनावश्यक छ । आप्रवासी कामदारको हितमा हेर्न मलेसिया सरकारको आफ्नै कानुन र संयन्त्र छ । कामदारको कल्याण हेर्ने जिम्मेवारी यहाँको रोजगारदाताको जिम्मेवारी हो । तेस्रो पक्षको होइन ।’ नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताअनुसार रोजगारदाताले एक नेपाली कामदार भर्ना गर्न ६३ सय २२ रिंगेट (१ लाख ७८ हजार रुपैयाँ) देखि ७९ सय ४२ रिंगेट (दुई लाख २४ हजार रुपैयाँ) व्यहोर्नुपर्छ । तर, तेस्रो पक्षसँग गरिएको सम्झौतामा प्रतिकामदार थप ४५ डलर (६ हजार रुपैयाँ) उठाउने उल्लेख छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने सम्झौताको खारेजी हुनुपर्ने माग अगाडि सारेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्झौता कार्यान्वयनमा रोकेर मात्रै नहुने बताए । ‘यो प्रकृतिको सम्झौताले व्यवसायी र कामदारमाथि थप आर्थिक भार पर्छ । यस्तो प्रकृतिको सम्झौताले एकाधिकार हुनुको साथै नेपालले पाइरहेको कोटा अन्य देशमा जाने अवस्था छ,’ भण्डारीले भने, ‘हामी यो सम्झौताको खारेजीको माग गर्छौं ।’

समाचार

‘सम्झौताका ७ प्रावधान संवेदनशील’

- कान्तिपुर संवाददाता


मलेसियन निजी कम्पनीसँग वैदेशिक रोजगार बोर्डले गरेको सम्झौतालाई परराष्ट्र मन्त्रालयले संवेदनशील मान्दै श्रम मन्त्रालयलाई ७ बुँदे धारणा पठाएको छ । सम्झौताका कतिपय प्रावधानहरू कार्यान्वयन हुन नसक्ने परराष्ट्रको ठहर छ ।
श्रम मन्त्रालयले उक्त सम्झौता कार्यान्वयनका लागि परराष्ट्र पठाएको थियो । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रीस्तरीय निर्णय गरी सम्झौतालाई कार्यान्वयन गर्न मलेसियास्थित नेपाली दूतावासमा नपठाई श्रम मन्त्रालयलाई आफ्नो धारणासहित पत्र फिर्ता गरेका हुन् । परराष्ट्रले सम्झौताका ७ वटा प्रावधानहरू कार्यान्वयनका दृष्टिले संवेदनशील रहेको जनाएको छ, जसमा सम्झौता गरिएको कम्पनी एफडब्लूडब्लूएमसीले दिने भनिएको सेवा लिन अनिवार्य तथा बाध्यकारी हुने, मलेसियामा काम गर्न जाने सबै नेपाली कामदार उक्त कम्पनीमा दर्ता हुनुपर्ने, मागपत्र र कामदारको करारपत्र लगायतका कागजात कम्पनीले संकलन गर्ने प्रावधान छन् ।
यस्तै, डिजिटल वेलफेयर मनिटरिङ प्रणालीमा मलेसियास्थित रोजगारदाताहरू दर्ता हुनुपर्ने, नेपाली दूतावासबाट ‘लेटर अफ अथोरिजेसन’ प्राप्त गरी पुलिस, अध्यागमन विभाग र डिटेन्सन सेन्टर भ्रमण गर्ने र कम्पनीले प्रत्येक कामदारसँग नियमानुसार लाग्ने करबाहेक अमेरिकी डलर ४५ बराबर हुने २०० रिंगेट दर्ता शुल्क मागपत्र प्रमाणीकरण गर्दा नेपाली नियोगमा मलेसियाली रोजगारदातासँग उठाउने प्रावधान पनि संवेदनशील रहेको परराष्ट्रले जनाएको छ ।
परराष्ट्रले उक्त सम्झौता सम्पन्न गर्नुअघि परराष्ट्र मन्त्रालय तथा कार्यान्वयन गर्ने नेपाली नियोगको राय परामर्श लिएको नदेखिएको जनाएको छ । परराष्ट्रले मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलको भूमिकामाथि भने प्रश्न उठाएको छैन । यो सम्झौताका लागि सहजीकरण गर्न पौडेलले बोर्डसँग अनौपचारिक रूपमा समन्वय गरेका थिए । परराष्ट्रले ‘यस सम्झौताको कार्यक्षेत्र नेपाल र मलेसिया दुवै देशमा रहेको’ भन्दै ‘एकभन्दा बढी मुलुकसँग सम्बन्धित द्विपक्षीय विषयमा निर्णय गर्दा दोस्रो पक्षसँग छलफल र परामर्शपश्चात् मात्र निर्णय लिन उचित हुने’ धारणा राखेको छ । यो सम्झौतालाई मलेसिया सरकारले कार्यान्वयन नगर्ने बताइसकेको छ । परराष्ट्रले यसबारे श्रम मन्त्रालयले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय तथा अर्थ मन्त्रालयको समेत राय लिन उपयुक्त हुने सुझाव पठाएको छ ।

समाचार

प्रधानमन्त्रीका निर्देशन, कार्यान्वयनको लेखाजोखा छैन

- गंगा बीसी

(काठमाडौं)
प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौं पटक मेलम्ची खानेपानीको उद्घाटन गर्ने क्रममा गत सोमबार अब उप्रान्त २४ सै घण्टा पानी वितरणको व्यवस्था मिलाउन मातहतको निकायलाई निर्देशन दिए । जबकि राजधानीवासीका धारामा मुस्किलले सातामा एकाध पटक मात्रै पानी आउने गर्छ । वितरण प्रणालीको अवस्थाबारे ख्यालै नगरी उनले ठाडो निर्देशन दिएका थिए । त्यसको दुई दिनपछि नै असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन बुधबार युगान्डा जानुअघि पनि दाहालले तीन वटा निर्देशन दिए । जसमा सहकारीमा देखिएका समस्या समाधान गर्न गृहमन्त्री, भूमिसुधार मन्त्रीलगायतलाई दिइएको निर्देशन पनि एक थियो । त्यसैगरी, प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन, भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा दुःख नदिन पनि निर्देशन दिए । उनले १५ दिनभित्र समायोजनको प्रक्रिया टुंग्याउन भने पनि त्यसको कार्यान्वयनका लागि पुरानो प्रहरी ऐन संशोधन हुनुपर्छ । गृह मन्त्रालयले तयारी गरिरहे पनि निष्कर्षमा पुगिसकेको छैन ।
संघीयता कार्यान्वयनका लागि एक वर्षको अवधिमा प्रधानमन्त्री दाहालले पटक–पटक निर्देशनसहित प्रतिबद्धता जनाउँदै आएका छन् । तर त्यसका लागि संसद्मा अड्केर रहेका निजामती, केही नेपाल ऐन संशोधन विधेयक भने अघि बढ्न सकेको छैन । उनीनिकट स्रोतका अनुसार आफ्नो निर्देशन कार्यान्वयन नभएकामा दाहाल असन्तुष्ट छन् ।
तेस्रो पटक प्रधानमन्त्री हुनेबित्तिकै दाहालले राहदानी, वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी), चालक अनुमतिपत्रलगायत दैनिक सरकारी सेवामा हुने लाइन घटाउने प्रतिबद्धता जनाउँदै मातहतको संयन्त्रलाई निर्देशन पनि दिए । यीमध्ये राहदानीको लाइन कम भए पनि अन्यको अवस्था उस्तै छ । दाहालले सशस्त्र युद्ध र शान्ति प्रक्रियापछि जनताको जीवनस्तर उठाउन आर्थिक क्रान्ति गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । सरकारमा आएको एक वर्षमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन पहल गरेको देखियो भने सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजसम्बन्धी कानुन बन्यो । तर मुलुकको आर्थिक स्थिति सुधार गर्ने उनको प्रतिबद्धता भने साकार हुन सकेको छैन ।
प्रधानमन्त्री दाहाल आफ्नो निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन नभएकामा असन्तुष्ट छन् । उनले आ–आफ्नो मन्त्रालयको काम प्रभावकारी बनाउन पटक–पटक मन्त्रीहरूलाई निर्देशन दिए पनि परिणाम निस्कन सकेको छैन । त्यसैले राष्ट्रिय सभाको निर्वाचन हुनेबित्तिकै उनी मन्त्रिपरिषद् हेरफेर गर्ने मनस्थितिमा पुगेका छन् । दाहालको एक वर्षका निर्देशन र प्रतिबद्धता केलाउँदा उनले संघीयता कार्यान्वयन, मुलुकको अर्थतन्त्रमा सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासन, सरकारी सेवामा जनताको सहज पहुँच, वैदेशिक रोजगारीमा जानेलाई सहज वातावरण, राज्यका निकायलाई जनमुखी बनाउने मुख्य छन् । उनले हरेक दिन मुख्यसचिव, निजी सचिवहरूलाई दर्जन बढी निर्देशन दिन्छन् । तर ती निर्देशन कार्यान्वयन भए/नभएको ‘कार्यव्यस्तता’ ले समीक्षा गर्न पाउँदैनन् । जसकारण उनले एक वर्षमा दिएका अधिकांश निर्देशन र प्रतिबद्धता अलपत्र परेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले एक वर्षको समीक्षा गर्दै सरकारको कार्यशैली बदल्ने गृहकार्य भइरहेको दाबी गरे । ‘प्रधानमन्त्रीज्यू युगान्डाबाट फर्केपछि सरकारको कार्यशैली नयाँ ढंगले अघि बढ्नेछ,’ उनले भने, ‘त्यसका लागि प्रधानमन्त्री कार्यालयले गृहकार्य अघि बढाइसकेको छ ।’ प्रधानमन्त्रीका निर्देशन र प्रतिबद्धता कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा गम्भीर समीक्षा भइरहेको उनको दाबी छ । ‘तत्काल गर्न सकिने र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिने कामबारे गम्भीर समीक्षा भइरहेको छ,’ उनले थपे, ‘तात्कालिक र दीर्घकालीन प्रकृतिका काम गर्ने छुट्टाछुट्टै संयन्त्र बनाएर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ ।’ उनले प्रधानमन्त्री हुनेबित्तिकै दिएका अधिकांश निर्देशन कार्यान्वयनमा आएको दाबी गरे । ‘सरकारी सेवामा लाइन घटेको छ । मिटरब्याजीले न्याय पाउन थालेका छन् । भूकम्पपीडितको उद्धार र राहत छोटै समयमा सफल भएको छ । सुशासनको आधार बनेको छ,’ उनले भने ।
दाहाल प्रतिबद्धता जनाउन र निर्देशन दिनमा अगाडि देखिएका छन् । ‘म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षमा दृढ छु । संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदै छन्,’ उनले प्रतिबद्धता जनाएका थिए, ‘संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपना र अस्पष्टता हटाउन कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जन
गरिँदै छ ।’ उनले एक वर्षमा गर्न नसकेको काम अब
गर्ने दोहोर्‍याए । ‘पूर्वाधार विकासमा थप गति दिन संविधानबमोजिम तीन तहका सरकारबीचको कार्यक्षेत्रमा स्पष्टता ल्याई पूर्वाधार विकासका कार्यक्रममा रहेको दोहोरो–तेहरोपन हटाइँदै छ,’ उनले भने, ‘सरकारका तीनै तहबीच प्रशासनिक समन्वय र सहकार्यका लागि नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा प्रदेशका प्रमुख सचिवहरू सम्मिलित प्रशासनिक समन्वय परिषद्को बैठक बसेर आवश्यक काम गरिरहेको छ । संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु । यसका लागि जरुरी कानुन तुरुन्त ल्याउन म तयार छु ।’
पूर्वमुख्यसचिव विमल कोइरालाले प्रधानमन्त्रीलाई आफ्नो कार्यसम्पादन कमजोर भएको महसुस भएमा निर्देशन र प्रतिबद्धतालाई तीव्र पार्ने बताए । सार्वजनिक रूपमा निर्देशन दिनु, प्रतिबद्धता जनाउनु आफ्नो कमजोरी ढाकछोप गर्ने
हतियार भएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले सार्वजनिक रूपमा राज्यका निकायलाई निर्देशन दिनु, थप प्रतिबद्धता जनाउनु आफ्नो कमजोरी ढाकछोप गर्ने तरिका हो,’ उनले भने, ‘सरकारको काम प्रभावकारी बनाउन राज्य संयन्त्रलाई संस्थागत रूपमा प्रबन्ध गरी काम गरे भइहाल्यो नि । आफूले निर्देशन दिएँ भनेर प्रेसमा जानु नै पर्दैन ।’ उनले प्रधानमन्त्रीको निर्देशन र नसक्ने प्रतिबद्धताले सरकारको छवि बिगार्ने बताए । ‘कार्यकारीले आफ्नो संस्थागत प्रबन्ध गर्न नसक्दा समस्या हुन्छ,’ गल्ती ढाकछोप गर्न कर्मचारीतन्त्रमाथि दोष थोपर्ने प्रवृत्ति देखिएको बताउँदै कोइरालाले भने, ‘कर्मचारीतन्त्र कसरी चलाउने भन्नेबारे संस्थागत कानुनी र अन्य प्रबन्ध गर्न सकिन्छ । गल्ती ढाकछोप गर्न अर्कालाई दोष थोपर्नु भएन नि ।’

समाचार

पाण्डेयलाई नियुक्त गर्न राष्ट्रपतिलाई स्मरण पत्र

- जयसिंह महरा

(काठमाडौं)
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई सिफारिस गरिएको विषय स्मरण गराएका छन् । पाण्डेयलाई मंसिर २५ मा उक्त पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । लामो समय बित्दा पनि महासचिव नियुक्ति रोकिँदा संसद्को कामकारबाही प्रभावित भएको भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिलाई पत्र पठाएर स्मरण गराएका हुन् । वैशाख तेस्रो साता सभामुख घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा नियुक्त भएका पाण्डेयले यतिबेला कार्यवाहक महासचिवको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।
तर पाण्डेयले ६ वर्ष उमेर घटाएर नागरिकता लिएको र सोही नागरिकताका आधारमा राहदानी लिएको सम्बन्धमा प्रतिनिधिसभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उक्त उजुरीका आधारमा समितिले गृह मन्त्रालयलगायत सम्बन्धित निकायबाट पाण्डेयको नागरिकता र राहदानीको विवरण माग गरिसकेको छ । गृह स्रोतका अनुसार नागरिकताका विवरण पाण्डेयको गृह जिल्ला पाल्पाको जिल्ला प्रशासनलाई चिठी लेखिएको छ । त्यसको जवाफ भने प्राप्त नभइसकेको गृहका अधिकारीले बताए ।
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले आइतबारको बैठकमा पाण्डेयविरुद्ध परेको उजुरीको विषयमा सभामुखले कुनै चासो नराखेको बताए । ‘कार्यवाहक महासचिवविरुद्ध उजुरी परेको छ, तर समिति सभापतिहरूको बैठकमा सभामुखले के भएको हो भनेर प्रश्न नै गर्नुभएन,’ उनले भने, ‘यत्रो विषय आइसकेपछि त्यो के रहेछ भनेर प्रश्न सोध्नुपर्थ्यो ।’ साथै उनले सभामुख र राष्ट्रिय सभा अध्यक्षले समितिका सभापतिसँग छलफल नगरी राष्ट्रपतिलाई पत्र लेख्नु उचित नभएको बताए । ‘समितिमा उजुरी आएपछि उहाँहरूले राष्ट्रपतिलाई नियुक्तिका लागि स्मरण गराउनेभन्दा पनि महासचिव वा समिति सभापतिसँग सोध्नुपर्थ्यो,’ उनले थपे । बरु महासचिव नियुक्तिबारे सोधिएको प्रश्नको जवाफमा सभामुख घिमिरेले भनेका थिए, ‘हामीले सिफारिस गरेका छौं । छिट्टै टुंगो लाग्ला भन्ने कुरामा म विभिन्न कारणले आशावादी छु ।’
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले माघ ३ मा राष्ट्रपतिलाई सभामुख र अध्यक्षले पत्र पठाएको जानकारी दिए । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले पनि स्मरण पत्र प्राप्त भएको पुष्टि गरे । ‘महासचिव नियुक्तिका विषयमा अहिलेसम्म केही निर्णय भएको छैन । माघ ११ (राष्ट्रिय सभा निर्वाचन) पछि विचार गर्ने भन्ने हो,’ कुँवरले भने, ‘अहिले नैतिक हिसाबले पनि नियुक्त गर्न मिलेन तर उहाँहरूको स्मरण पत्र आएको छ ।’ पाण्डेयको नागरिकता र पासपोर्टको विषयमा राष्ट्रपति कार्यालयलाई जानकारी रहेको जनाउँदै उनले माघ ११ को राष्ट्रिय सभाको निर्वाचनपछि निर्णय हुने बताए ।
पाण्डेय वैशाख तेस्रो साता सभामुख घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा नियुक्त भएका थिए । सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पाण्डेयलाई महासचिव नियुक्त गर्ने सिफारिस लिएर मंसिर २५ मा राष्ट्रपतिसमक्ष पुगेका थिए । राष्ट्रपति कार्यालयले पाण्डेयको सिफारिस प्रक्रियाका सम्बन्धमा अध्ययन गर्नुपर्ने बताएको थियो । त्यतिबेला सभामुख घिमिरेले निश्चित समयभित्र नियुक्ति नभए राष्ट्रपति कार्यालयविरुद्ध अदालत जानुपर्ने बताएका थिए । नियुक्ति रोकिएपछि राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षले स्मरण पत्र लेखेका हुन् । संविधानमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा महासचिव नियुक्त गर्ने व्यवस्था छ ।

Page 4
सम्पादकीय

सुस्ताएको शिक्षा मन्त्रालय


मुलुकको करिब ११ प्रतिशत बजेट चलाउने शिक्षा मन्त्रालयसामु नियमित बाहेकका गर्नैपर्ने कामको चाङ छ । शिक्षासम्बन्धी कानुन निर्माण प्रक्रिया जतिसक्दो छिटो टुंग्याएर क्षेत्राधिकारको अन्योल र विवादलाई किनारा लगाउनुपर्नेछ । विश्वविद्यालय र सेवा आयोगमा पदाधिकारी रिक्त हुँदै गर्दा नियुक्ति प्रक्रिया फटाफट अघि बढाउनुपर्नेछ । नयाँ शैक्षिक सत्र सुरु हुने बेलासम्म विद्यार्थीको हातहातमा
पाठ्यपुस्तक पुर्‍याउनुपर्नेछ । तत्काल गर्नैपर्ने यी काममा मन्त्रालयको कामकारबाही भने एकदमै सुस्त देखिन्छ । शिक्षा क्षेत्रमा उत्साह जगाउने खालका नयाँ काम पनि हुन सकेको छैन ।
शिक्षा मन्त्रालयको राजनीतिक नेतृत्वमा नौ महिनाभन्दा लामो समयदेखि अशोककुमार राई छन् । राईका लागि शिक्षा मन्त्रालय नयाँ हो तर उनका लागि मन्त्री पद नौलो होइन । उनी २०६२ सालअघि नै तीन पटक मन्त्री बनिसकेका हुन् । त्यति बेलाको अनुभव र सिकाइ अहिले शिक्षा मन्त्रालयमा प्रतिविम्बित हुन सकेको छैन । मन्त्री राई आफैंले ६ महिनाअघि संसद्को शिक्षा समितिमा गएर ऐनको रिक्ततालाई पूर्णता दिनु आफ्नो प्रमुख दायित्व रहेको बताएका हुन् । तर त्यही प्रमुख दायित्व निर्वाहमा पनि उनको सक्रियता देखिएको छैन ।
संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि छुट्याइदिएको शिक्षासम्बन्धी अधिकारलाई व्यवस्थित गर्ने कानुन अहिलेसम्म बन्न सकेको छैन । यो यसअघिका सरकार र शिक्षामन्त्रीको कमजोरी हो र त्यस्तै दोषारोपणबाट बच्न मन्त्री राईले पनि पहलकदमी लिन सकेका छैनन् । उनी शिक्षामन्त्रीका रूपमा आउनुअघि नै तयार विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेर अड्किरहेको छ । संसद्मा यसलाई जति अलमल्यायो, त्यति स्वार्थ समूहहरूको चङ्गुलमा पर्ने जोखिममा छ । तर यसलाई तत्काल टुंगो लगाउन सरकार, राजनीतिक दल र मन्त्रीले अग्रसरता लिन सकेका छैनन् ।
शिक्षा मन्त्रालयले सरोकारवालासँग पर्याप्त छलफल नगरी तयार गरेको उच्च शिक्षासम्बन्धी विधेयकको मस्यौदा कानुन मन्त्रालयबाट फिर्ता भएको छ । मस्यौदा फर्केको दुई महिना भइसक्दा पनि सुझावअनुसार प्रक्रिया पूरा गर्न शिक्षामन्त्रीले इच्छाशक्ति देखाएका छैनन् । प्राविधिक शिक्षासम्बन्धी विधेयकको मस्यौदा पनि सरोकारवालासँग छलफल नगराई अर्थ मन्त्रालय पठाइएको छ । शिक्षामन्त्री राईको यस्तै कच्चा कार्यशैली त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि गरिएको दरखास्त आह्वान र त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्तिको
सिफारिसमा पनि देखिएको थियो । सहकुलपति एवं शिक्षामन्त्री राई संयोजकत्वको सिफारिस समितिले उपकुलपतिका लागि दरखास्त आह्वान गर्दै निकालेको सूचना विवादित भएपछि सच्याएर जारी गर्नुपरेको थियो । शिक्षामन्त्री राईले सेवा आयोग अध्यक्षमा एकल नाम सिफारिस गरेपछि विवाद भएपछि फेरि तीन जनाको नाम पठाउनुपरेको थियो ।
विश्वविद्यालयमा पदाधिकारी रिक्त हुँदै गर्दा पदपूर्ति प्रक्रिया बेलैमा अघि बढाउने गरिएको छैन । त्रिविमा उपकुलपति पद रिक्त भएको एक सातामै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामन्त्री राईको नेतृत्वमा सिफारिस समिति गठन गरेका थिए । समितिले करिब दुई महिनापछि पुस २० मा मात्र उपकुलपतिका लागि दरखास्त आह्वान गर्‍यो । निमित्त उपकुलपतिको तीनमहिने कार्यकाल माघ १७ मा सकिन्जेल त्रिविले नयाँ उपकुलपति पाउने सम्भावना कम छ । सदस्य रिक्त भएर त्रिवि सेवा आयोगले अध्यापक, कर्मचारीको नियुक्ति र बढुवा प्रक्रिया सुरु गर्न नसकिरहेका बेला पदपूर्तिलाई शिक्षामन्त्रीले गम्भीरपूर्वक लिएको देखिँदैन ।
विद्यालयमा नयाँ कक्षा सुरु भएको महिनौंसम्म पाठ्यपुस्तक नपुग्ने समस्या गत वर्ष देखिएको थिएन । तर यस पटक त्यसको निरन्तरता हुनेमा संशय छ । पाठ्यक्रम विकास केन्द्रले गत कात्तिकमै पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न फाइल पठाएकामा मन्त्रालयले पुस तेस्रो साता मात्रै कक्षा ४–१२ को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रलाई छाप्ने दिने निर्णय गर्‍यो । गत वर्ष कक्षा ५–१२ को
पाठ्यपुस्तक छापेको जनक शिक्षालाई यसपालि एउटा कक्षा थपिएकाले बेलैमा छपाइ सक्न मुस्किल छ । अर्थ मन्त्रालयले यसैपालि कक्षा ६ का विद्यार्थीले खाँदै आएको खाजा खोस्दा पनि शिक्षामन्त्रीले गम्भीरतापूर्वक चासो राखेनन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि चालु वर्षमा विनियोजित ४४ करोड रुपैयाँ वितरण प्रक्रिया सुरु भएकै छैन । शिक्षामन्त्री राई आफैंले घोषणा गरेको अनलाइन वैदेशिक अनुमतिपत्र वितरण कार्यक्रमसमेत अलपत्र छ ।
प्रधानमन्त्री र शिक्षामन्त्रीबीच समन्वय अभाव र अविश्वासको समस्या पनि देखिन्छ । विद्यालय शिक्षासम्बन्धी विधेयकमा निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रीलाई नभई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जिम्मा दिएका थिए । भदौमा विधेयक संसद्मा दर्ता भएपछि सडकमा उत्रिएका शिक्षकसँग वार्ता गर्न प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी सुम्पिए ।
शिक्षा मन्त्रालयसँग मुलुकको समुन्नतिका लागि योगदान गर्न सक्ने योग्य, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्ने महत्त्वपूर्ण जिम्मेवारी छ । मन्त्रालयलाई नीति–नियम निर्माण एवं कार्यान्वयनमा सुस्ताउने, अलमलिने छुट हुँदैन । मन्त्री राईले शैक्षिक क्षेत्रमा परिवर्तनको प्रत्याभूति दिलाउने इच्छाशक्ति देखाउनुपर्छ, कार्यशैली बदल्नुपर्छ ।

 

सम्पादकलाई चिठी

अयोध्यामा आँखा

सोमबार विश्वभरिका अर्बौं हिन्दु धर्मावलम्बीहरूको आँखा भारतको अयोध्या सहरमा जाँदै छ । अयोध्यालाई श्रीरामको जन्मभूमि मानिन्छ । त्यस अर्थमा हिन्दुहरूको लगाव अयोध्यामा हुनु स्वाभाविकै हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा निर्माण भइरहेको भव्य राम मन्दिरमा सोमबार प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ । यो मन्दिर पूर्ण रूपमा भने बनिसकेको छैन । पूरा बनिनसक्दै मन्दिरको उद्घाटन गर्न लागेकामा विपक्षी दलहरूले विरोधमात्र गरेका छैनन्, कार्यक्रम नै बहिष्कार पनि गरेका छन् । तथापि मन्दिर उद्घाटन गरी राजनीतिक फाइदा लिन मोदी लागिपरेका छन् । मन्दिर बनाएको जस लिन पाए भारतमा रहेका करोडौं हिन्दुको मत पाएर चुनाव जित्न सहज हुन्छ भन्ने लालसा मोदीको मनमा रहेको छ ।
यही सन् २०२४ मै भारतको ५ सय ४३ सदस्यीय लोकसभाको चुनाव हुँदै छ, जसले नयाँ सरकार बनाउनेछ । भाजपालाई हराउन विपक्षी पार्टीहरूले इन्डिया नामको महागठबन्धन बनाएका छन् । विपक्षी पार्टीहरूको आरोप छ, चुनावी लाभ लिनका लागि मोदीले मन्दिरको पूर्ण निर्माण नहुँदै उद्घाटन गर्न खोजेका हुन् । मोदीले जस्तै नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्ण निर्माण नभईकनै धरहराको उद्घाटन गरेका थिए, जुन आजसम्म पूरा हुन सकेको छैन । अयोध्यामा पनि बल्लतल्ल मुख्य मन्दिर बनेको छ तर त्यसवरपर बन्नुपर्ने अन्य ७ मन्दिर बनाउन बाँकी नै छ । सम्पूर्ण काम पूरा हुन अझ ३ वर्ष लाग्ने बताइएको छ । त्यस अर्थमा मोदीले हडबड नगरेको भए उचित हुन्थ्यो ।
राम मन्दिरका कारण आज भारतमा धार्मिक र राजनीतिक द्वन्द्व उत्कर्षमा पुगेको छ । राजनीतिक दलहरूले एक अर्कालाई रामको विरोधी, अन्य धर्महरूप्रति असहिष्णु भनेर आरोप–प्रत्यारोप गरिरहेका छन् । प्रतिपक्ष पार्टीहरूले उद्घाटन समारोह नै बहिष्कार गर्ने घोषणा गरेका छन् । धर्ममा राजनीति मिसिँदा यस्तै अनुचित काम हुँदा रहेछन्, जुन खेदजनक छ । मोदीको १० वर्षे शासनकालमा अल्पसंख्यक जातजाति र धार्मिक अल्पसंख्यकमाथि निकै विभेद हुने गरेको आरोप भारतमा मात्रै होइन, बाहिर बसेका विज्ञ विश्लेषकहरूले पनि लगाएका छन् । धर्मका नाउँमा द्वन्द्व बढ्नु, बढाउनु राम्रो होइन । धर्मलाई राजनीतिक लाभहानिभन्दा पर्यटन अभिवृद्धिसँग जोड्नुपर्छ । अयोध्यामा जस्तै विकास नेपालका जनकपुर र लुम्बिनीमा गर्न सके लाखौं पर्यटक आउन सक्छन् ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, जोरपाटी

सम्पादकलाई चिठी

शिक्षामन्त्रीको मौनव्रत

त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति र त्रिवि सेवा आयोगमा रिक्त सदस्य नियुक्त नहुनु, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट वितरणमा ढिलाइ हुनु, उच्च शिक्षासम्बन्धी विधेयकमा बेवास्ता हुनु, आगामी वर्ष ७० लाख विद्यार्थीको पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णयमा विलम्ब हुनुजस्ता विषयले शिक्षामन्त्रीले मौनव्रत धारण गरेको पुष्टि हुन्छ । उनले गरेका निर्णयहरू बारम्बार सच्याइने गरेकाले पनि उनको कार्यशैली प्रभावकारी र दूरदर्शी नभएको देखिन्छ । सम्भवतः यस्तै कतिपय कारणले प्रधानमन्त्रीले शिक्षासँग सम्बद्ध विषयहरूको जिम्मेवारी अन्य मन्त्रीलाई सुम्पिँदै गएर शिक्षामन्त्रीलाई नपत्याएका हुन् र शिक्षा मन्त्रालयको नेतृत्व नै अलमलमा परेकाले दैनिक तथा नियमित कार्यसम्पादनसमेत हुन नसक्ने परिस्थितिमा योजना पनि अलपत्र परिरहेकै हुन् भने मौनव्रत धारण गरेर नै शिक्षामन्त्री पदमा बसिरहनुको औचित्य देखिँदैन ।
– मतिप्रसाद ढकाल, कालिका संस्कृत विद्यापीठ, नवलपरासी

सम्पादकलाई चिठी

युवामा विदेशमोह

अचेलका युवा १२ पास गर्नबित्तिकै अमेरिका, क्यानडा, जापान, अस्ट्रेलियाका साथै युरोपियन मुलुकतर्फ लागेको देख्दा अचम्म छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाको मेला हुन्छ । विदेश बसेका युवा पाहुना बनेर आफ्नो देश घुम्न आउँछन् । कतिपयको घरमा बूढाबूढी बाआमा मात्रै हुन्छन् । अस्पतालमा गएर औषधि ल्याइदिने मान्छेसमेत हुँदैन । अहिले देशमा आउने रेमिट्यान्सभन्दा बढी पैसा नेपालीले विदेश लगेको देखिन्छ । दुबई, कतार, मलेसिया, कोरियाजस्ता देशमा रोजगारीका लागि जाने युवा केही समयपछि फर्कने सम्भावना छ तर उच्च शिक्षाका लागि जाने युवा फर्केने सम्भावना न्यून छ । यही अवस्था कायम रहने हो भने केही समयमा समाज युवाविहीन बन्नेछ । यो अवस्था के कारणले आयो ? सरकार र राजनीतिक दलहरू गम्भीर बन्नुपर्दैन ? राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुपर्ने नागरिक समाज र मिडिया पनि थाहा नै नपाए जसरी बसेका छन् । देशप्रति जिम्मेवारी कसैको छैन ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

सम्पादकलाई चिठी

२९ दिनका दुई महिना कसरी ?

कुनै बेला कांग्रेसका रामहरि जोशी र त्योभन्दा पछि एमालेका मोदनाथ प्रश्रित संस्कृतिमन्त्री भए । सम्भवतः २०४६ पछि पढेलेखेका मान्छे संस्कृतिमन्त्री भएका यिनै दुई जना होलान् । रामहरि जोशी त आदर्श पुरुषै थिए, उनको कसैसित तुलना नै हुन सक्दैन । एमालेका प्रेमसिंह धामी, प्रदीप नेपालजस्ता विरलै नेता मन्त्री भए । संस्कृत भाषा मार्न खोज्नेविरुद्ध प्रदीप नेपालले गरेको संघर्ष त बिर्सन नमिल्ने इतिहास बनिसकेको छ । किसुनजी र मनमोहन अधिकारीका कार्यकाल तारिफयोग्य थिए । अब यस्ता मानिस नेपालको राज्यसत्तामा आउने आशा नै गर्न सकिँदैन । मैले यहाँ उल्लेख गर्न खोजेको संस्कृतिमन्त्रीको प्रसंग हो । पहिले–पहिले त शिक्षा तथा संस्कृतिमन्त्री भनिन्थ्यो, तर अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि यसको स्वरूप नै बिग्रेको छ । अब यी तीनै विषयमा जानकार को हुँदो हो र ? त्यसैले प्रधानमन्त्रीले जसलाई पनि मन्त्री बनाएका बनायै हुन्छन् । पञ्चांग निर्णायक समितिदेखि एकेडेमीसम्म तिनै मन्त्रीले गठन गर्दारहेछन् ।
पञ्चांग निर्णायक समितिले संक्रान्ति बिगार्‍यो भनेर २०६८ मा झलनाथ खनाल प्रधानमन्त्री हुँदा संस्कृति मन्त्रालयमा उजुरी दिएँ । २०६८ को पात्रोमा समितिले भाद्र संक्रान्ति भारतभन्दा नेपाल १६ घण्टा ५० मिनेट ढिलो राखेको थियो । झलनाथकै हातमा पनि भारतीय पात्रो र नेपाली पात्रो फोटोकपी दिएको थिएँ, उनले पनि यसतर्फ सामान्य चासो राखेनन् । पछि रवीन्द्र अधिकारी र योगेश भट्टराई संस्कृतिमन्त्री हुँदा प्रमाणसहित पत्रपत्रिकामार्फत अवगत गराएको थिएँ । उनीहरू दुवै कानमा तेल हालेर बसे । यसपल्ट समितिले पुस र माघ २९–२९ दिनको महिना बनाएर जगत् हँसाउँदा पनि संस्कृतिमन्त्री चुपचाप छन् ।
– रत्ननिधि रेग्मी ॅशुक्राचार्य’,
महाकवि देवकोटा आश्रम, काठमाडौं

सम्पादकलाई चिठी

'रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

ड्राइभर काम गरेर गुजारा चलाउन गाह्रो छ, परिवार पाल्न गाह्रो छ । त्यसमाथि ट्राफिकले सताउने ड्राइभरलाई नै । यात्रुले ढिला पुर्‍याए कराउने ड्राइभरलाई नै । के गर्ने त्यसैले हल्का टेन्सन हटाउन पनि हुन सक्छ ।
– च्याङ्बा तामाङ मोक्तान

यो मापसे जाँच काठमाडौं उपत्यकाभित्र मात्रै किन गरिन्छ ? मलेखु, मुग्लिनमा रोकेर रिफ्रेस हुने भन्दै माछासँग बियर र रक्सी खाँदै गरेको देखिन्छ । तर त्यता कहींकतै मापसे जाँच हुँदैन ।
– सुनील बादे श्रेष्ठ

रोकिँदैन पनि । बरु २ वटा मिनरल वाटरको बोतल लिने, एउटा बोतलको पानी अर्को बोतलमा खन्याउन लगाउने, नपोखीकन सबै खन्याउन सक्यो भने यत्तिको मान्छे घर जान सक्छ भनेर जान दिऔं ।
– वसन्तजंग थापा

लाइसेन्स रद्द गर्ने व्यवस्था नल्याएसम्म हुँदैन । खोयाबिर्के धोकेर र सुल्फा तानेर सवारीसाधन चलाएर सर्वसाधारणको ज्यानमाथि खेलबाड गर्न पाइन्छ त ?
– हरिकिशोर कार्की

दृष्टिकोण

'रामराम’ राष्ट्रवाद, 'रामराम’ राजनीति

- अच्युत वाग्ले

 

आज २२ जनवरी २०२४ इस्वी संवत् । हिन्दु धर्मका एक महत्त्वपूर्ण भगवान् अवतार रामको जन्मभूमि मानिएको भारतको उत्तर प्रदेशस्थित अयोध्या नगरमा (पुनः)निर्माण गरिएको भव्य राम मन्दिरको आजै उद्घाटन हुँदै छ । त्यहाँ स्थापना गरिएको ‘राम लल्ला’ अथवा पाँच वर्ष उमेर झल्किने बालस्वरूप रामको मूर्तिमा प्राणप्रतिष्ठा गरिँदै छ । पत्थरनिर्मित मूर्तिमा हिन्दु परम्परा अनुसार विधिपूर्वकको धार्मिक अनुष्ठानद्वारा प्राण प्रतिष्ठापन (जीवन निःसृत) गरेपछि त्यो मूर्ति साक्षात् शक्तिमान् भगवान्मा रूपान्तरण हुन्छ भन्ने विश्वास त्यस धर्मका कट्टर अनुयायीहरूको छ ।
यो भव्य आयोजन अहिले विश्वव्यापी चर्चामा छ । यसको आयाम एउटा मन्दिरको उद्घाटन र एउटा मूर्तिको प्राणप्रतिष्ठाको धार्मिक अनुष्ठानभन्दा सम्भवतः अनगिन्ती गुणा फराकिलो र दूरगामी असरयुक्त हुने देखिँदै छ । मन्दिर निर्माणको ऐतिहासिक पृष्ठभूमि, यस प्रकरणको बलमा पुनः ‘एसर्ट’ गर्न खोजिएको धार्मिक–सामाजिक एकल हिन्दुवादी राष्ट्रिय पहिचान, गौरवपूर्ण पुनर्प्राप्ति (ग्लोरियस रिक्लेमेसन) र सम्पूर्ण प्रकरणमा अन्तर्निहित राजनीतिक अभीष्टहरूका कारण यसले संसारको ध्यान आकृष्ट गरेको छ । ‘प्रोजेक्ट’ प्राणप्रतिष्ठाको नेतृत्व वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले गरेको छ ।
वर्तमान भारत सरकारले यसलाई सिंगो मुलुकको राष्ट्रिय उत्सव बनाउन हरसम्भव सबै उपाय अवलम्बन गरेको छ । केन्द्र सरकारले आज सोमबार आधा दिनको सार्वजनिक बिदा दिएको छ । कतिपय राज्य सरकारले पूरै दिन बिदा गरेका छन् । भारतका ५ लाखभन्दा बढी र विश्वभरका सयौं हिन्दु मन्दिरमा एकैसाथ उद्घाटनको उत्सव मनाउन र साँझमा भव्य दीपावली गर्न निरन्तर आग्रह गरिएको छ । मरिससका हिन्दु प्रधानमन्त्री प्रविन्द जगन्नाथले पनि आफ्नो देशमा दुई घण्टाको बिदा दिएका छन् । सीताको जन्मभूमि, नेपालको जनकपुरधामबाट उपहारहरू पठाइएका छन् । भारतीय रेल सेवाले प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन चाहने नेपाली रामभक्तहरूका लागि बीस डब्बाको रेल गत शनिबार नै जनकपुर पठाएको छ ।
एक दशकयता मोदीको प्रभावमा पूर्णतः
एकोहोरिएको मूलधारको भनिएको भारतीय मिडियाले यो आयोजनलाई लगभग अद्वितीय राष्ट्रिय महत्त्वको तत्त्वावधानका रूपमा चित्रित गरिरहेको छ । यस्ता हजारौं राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रम–उपक्रमहरू यो अनुष्ठानसँग जोडिएर आइरहेका छन्, जसको फेहरिस्त दिने यो आलेखको मुख्य उद्देश्य होइन । यसले केवल अबको भारतीय राजनीतिको धार र त्यसले संकेत गरेको खास गरी दक्षिण एसियाली उपमहाद्वीपको सन्निकट राजनीतिक संकथन (न्याराटिभ) को कलेवरका केही सम्भावित कडीलाई पर्गेल्ने यत्नसम्म गरेको हो ।

ऐतिहासिक पृष्ठभूमि
अयोध्यामा राम मन्दिरको यो पुनर्निर्माणले यति धेरै चर्चा पाउनुको प्रबल कारण यो चरम विवादित भूमिमा निर्मित हुनु हो । अहिले मन्दिर निर्माण भएको स्थानमा मुगल सम्राट् बाबरका पालामा, सन् १५२८–२९ मा निर्मित ‘बाबरी मस्जिद’ थियो । यसलाई १९९२ डिसेम्बर ६ तारिख अहिलेको भाजपा सहितका हिन्दुवादीहरूको उद्दण्ड भीडले मिट्टिमेल हुने गरी भत्काइदिएको थियो । कारण, यो मस्जिद नै त्यहाँ कम्तीमा एघारौं शताब्दीदेखि रहिआएको राम मन्दिर भत्काएर राम जन्मिएको गर्भगृहमाथि बनाइएको आरोप उनीहरूको थियो । भारतका कतिपय प्रतिष्ठित पुरातत्त्वविद्हरूले त्यो मस्जिदमा प्रयुक्त कम्तीमा बाह्रवटा खम्बा एघारौं वा बाह्रौं शताब्दीका हिन्दु वा बौद्ध मन्दिरको वास्तुकलाको प्रयोग भएको प्रमाणित गरेका थिए । सन् १८५५ मा मस्जिदको विषयलाई लिएर धार्मिक द्वन्द्व बढेपछि भारतमा रहेको अंग्रेज शासनले सन् १८५९ मा यसवरिपरि तारबार लगाएको थियो । सन् १९८६ मा राजीव गान्धी प्रधानमन्त्री हुँदा त्यहाँ हिन्दुहरूलाई पनि दर्शन गर्न दिने गरी सो परिसर खुला गरिएको थियो । सन् १९९२ मा भाजपाको राष्ट्रव्यापी रथयात्राका क्रममा मस्जिद भत्काइएलगत्तै भारतका विभिन्न सहरमा जातीय दंगा भड्किएको थियो । २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
२०१९ नोभेम्बर ९ मा भारतीय सर्वोच्च अदालतका पाँच वरिष्ठ न्यायाधीशहरूले भारतीय पुरातत्त्व सर्वेक्षणको रिपोर्टका आधारमा सोह्रौं शताब्दीको मध्यमा बनेको मस्जिदको जगमुनि मन्दिरको संरचना रहेको भनी हिन्दु पक्षधरहरूले अदालतमा पेस गरेको दाबी पुगेको अथवा त्यहाँ राम मन्दिर बनाउन मिल्ने आशयको १ हजार ४५ पृष्ठको फैसला दिएका थिए । र, मुस्लिमहरूलाई मस्जिद बनाउन उपयुक्त ठाउँमा पाँच एकड जमिन दिन पनि आदेश दिइएको थियो । परिणामतः अहिले यो मन्दिर बन्न सम्भव भएको हो । यो मन्दिर निर्माणलार्ई भारतीय राजनीतिमा आफ्नो पकड नाटकीय गतिमा विस्तार गर्दै लगेको भाजपा, यही दलको नेतृत्वमा रहेको उत्तर प्रदेश सरकार र प्रधानमन्त्री मोदीले चरम भावनाप्रेरित योजनाका रूपमा द्रुत गतिमा सम्पन्न गर्न सघाएका छन् ।

भाजपाको ॅराम’ राजनीति
धर्मको आडमा राजनीति गरेको जत्ति नै आरोप लागे पनि यो दल र यसको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघले आफ्नो हिन्दु राष्ट्रवादी एजेन्डालाई कहिल्यै ढाकछोप गरेका छैनन् । यसलाई एक दृष्टिले राजनीतिक इमानदारी नै भने पनि हुन्छ । त्योभन्दा उल्लेख्य के भने भाजपाको राजनीतिक उदयको सबभन्दा महत्त्वपूर्ण औजार नै उसले प्रदर्शन गरेको हिन्दु पक्षधरता र त्यसको प्रत्यक्ष अनुहार बनेको राम जन्मभूमि अयोध्यामा राम मन्दिर पुनर्निर्माण ‘प्रोजेक्ट’ भएको छ ।
सन् १९८६ मा हिन्दुहरूलाई दर्शनका लागि मस्जिद पस्न दिने राजीव गान्धीको निर्णय एउटा राजनीतिक सौदाबाजी थियो । मुस्लिम धर्मावलम्बी सम्बन्धविच्छेद भएका महिलाहरूका लागि अलग्गै भरणपोषण कानुन लागू भएपछि आक्रोशित हिन्दु भावनालाई शान्त पार्न उनले चालेको यो कदम उनी र उनको दल कांग्रेस (आई) का लागि प्रत्युत्पादक सावित भयो । त्यस बेला संघीय संसद्मा २ सिट मात्र भएको भाजपाले लगत्तैको चुनावमा ८८ सिट जित्यो । सन् १९९६ मा भाजपाले बनाएको अल्पमतको सरकार १६ दिनमै ढले पनि १९९९ मा बनेको अटलबिहारी वाजपेयी नेतृत्वको सरकार ६ वर्ष टिक्यो । १९९२ को बाबरी मस्जिद ध्वस्त पार्ने कदमको धर्मनिरपेक्ष बौद्धिक जगत्मा अत्यन्तै कठोर आलोचना निरन्तर थियो ।
तर, भाजपालाई संघीय संसद् र राज्यका विधानसभाहरूमा आफ्नो प्रभुत्व विस्तारको यात्रामा यी विरोधहरू अवरोधभन्दा कसै गरी सहायक भएको जस्तो देखिन्छ । सन् २०१४ यता नरेन्द्र मोदी भाजपाकै पूर्ण बहुमतका साथ प्रधानमन्त्री छन् । यसअघि कांग्रेसको प्रभुत्व भएका राज्यहरूमा क्रमशः भाजपाले सरकार बनाउने क्रम बढेको छ । अहिले ३१ मध्ये आधाजसो राज्यमा या त
आफ्नै नेतृत्व वा साझेदारीको सरकार छ । यसै वर्ष अप्रिल–मे महिनामा हुने चुनावबाट मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरिँदै छ । यो मन्दिर उद्घाटन र प्राणप्रतिष्ठाको ब्रान्डिङमार्फत कुल जनसंख्याको ८० प्रतिशत हिन्दु धर्मावलम्बी रहेको भारतको धार्मिक आस्था र भावनालाई राजनीतिक उद्देश्यका लागि पुँजीकृत गर्न प्रधानमन्त्री मोदी अत्यन्तै सफल देखिएका छन् ।
विश्वको राजनीतिक इतिहासमै राजनीतिमाथि धर्मको सबभन्दा बलशाली प्रभाव रहेको छ । सत्रौं शताब्दी युरोपको ‘इन्लाटन्मेन्ट मुभमेन्ट’ ले राजनीतिमाथि क्याथोलिक चर्चको जबर्जस्त नियन्त्रणलाई कम गर्ने प्रस्ताव अघि सारे पनि धर्मलाई राजनीतिको सारथि, कारक वा निर्णायक बनाउने क्रम इरान वा भ्याटिकन जस्ता घोषित धर्मतन्त्र (थियोक्रेसी) हरूमा मात्र होइन, केही अपवाद छोडेर धर्मनिरपेक्ष भनिएका कैयौं लोकतन्त्रमा अद्यापि व्यापक अभ्यासमा छँदै छ । चुनावी परिणामहरू एकत्रित धार्मिक वा समुदाय पहिचानको मतले धेरै हदसम्म निर्णायक हुन्छन् । इजरायल, अमेरिका र बेलायत अथवा पाकिस्तान, इन्डोनेसिया र अस्ट्रेलिया जतातिरको कुरा गरे पनि पहिचान र समुदायमा आधारित राजनीति र मतको प्रभाव अझै उल्लेख्य छ ।
खास गरी भारतीय हिन्दुहरूका हकमा मुस्लिम आक्रमणकारी र अंग्रेज उपनिवेशकारीहरूले उनीहरूको धार्मिक भावना, सभ्यता र पहिचानमाथि अनुचित थिचोमिचो भएको अनुभूति शताब्दीयौंदेखि चाङ लाग्दै गएको छ । सन् १०२५ मा मोहम्मद गज्नीले गुजरातको सोमनाथ मन्दिरमा आक्रमण र लुटपाट गरेयता विस्तार भएको मुगल साम्राज्य, सन् १६०० मा इस्ट इन्डिया कम्पनी अस्तित्वमा आएदेखि सन् १९४७ मा भारत स्वतन्त्र नहोउन्जेल बेलायती उपनिवेशवादले लादेको दमन र बाध्यात्मक धर्म परिवर्तनको साक्षी यो सापेक्षतः सहनशील र विविधतामा विश्वास गर्ने समाज बन्यो । हिन्दुत्व एउटा कठोर धर्मभन्दा पनि उदार सभ्यताका रूपमा अनेक रूप र स्वरूपमा अभ्यासमा रह्यो । इतिहाससँगको प्रतिरोध उचित होइन, तर मानिसले बदलाभावबाट सन्तुष्टि लिने पशुप्रवृत्ति त्याग्न सकेको छैन । हिन्दुहरूको खुसीको स्रोत त्यही प्रवृत्ति हो ।
बदलिएको भाष्य
अहिले मोदी र भाजपाले निर्माण गरेको राजनीतिको ‘राम भाष्य’ ले सहस्राब्दीदेखि दमित र अपहेलित त्यही धार्मिक र पहिचानको भावनाले आवाज पाएको र सभ्यताको गौरवमाथि पुनर्दाबी स्थापित हुँदै गएको व्याख्यानले आम स्वीकृति पाउँदै गएको देखिन्छ । धर्मभीरु, धार्मिक कट्टरपन्थीहरू त यो अभियानको अग्रमोर्चामा देखिने नै भए, रूढिवादमा विश्वास नगर्ने अथवा धर्म मान्दिनँ भन्नेहरू पनि आफ्नो विशिष्ट पहिचान मुखरित हुँदै गएकामा सन्तुष्ट र यसको समर्थनमा उभिनमा घाटा देख्दैनन् । यो स्वतन्त्र छनोटको मात्रै नभएर सत्ता, जीवनयापन र सामाजिक परिवेशले सुषुप्त रूपमा क्रमशः बाध्य पार्दै लगेको विषय बनेको प्रस्टै छ ।
बहुसंख्यकहरूको भावनालाई, कुनै प्रकारको वैचारिक वा धार्मिक कट्टरपन्थमा अनुवाद हुने हदसम्म नै किन नहोस्, गौरवमय उद्बोधनसँग र यस्तो
उद्बोधनलाई राष्ट्रिय समृद्धिको महत्त्वाकांक्षासँग पनि घोल्न सक्यो भने त्यसो गर्न सक्ने राजनीतिक शक्तिका लागि राज्यसत्ताको आरोहण सहज हुन्छ । अहिले मोदीले अपनाएको रणनीति त्यही हो । उनले भारतको आर्थिक भविष्य उज्ज्वल छ, बदलिँदो विश्वव्यवस्थामा भारतको उपस्थिति थप प्रभावशाली हुँदै छ र आम मानिसको जीवनस्तर माथि उक्लँदै छ भन्ने अर्थराजनीतिक अवधारणालाई साथसाथै प्रचारमा लगेका छन् । परिणामतः धर्मनिरपेक्षता, अल्पमतको आवाज वा संविधानवाद आदि विपक्षीहरूले उठान गर्न चाहेका मुद्दा वाष्पीभूत भएका छन् । यही मानक सायद डोनाल्ड ट्रम्प, सी चिनफिङ वा भ्लादिमिर पुटिन आदिका हकमा पनि लागू होला ।
भारतमा यतिखेर विपक्षी र बौद्धिक प्रतिरोधको कुनै प्रभाव बाँकी छैन । प्रतिपक्षी दलहरूले भारतको संविधानको मौलिकता वा क्रमशः हिन्दु राष्ट्रमा रूपान्तरण हुँदै गएको यसको लोकतान्त्रिक आवरणमाथि बहस गरिरहेका छैनन् । विरोधी दलका तर्क प्राणप्रतिष्ठामा धार्मिक विधि पुग्यो वा पुगेन भन्ने जस्ता किनाराका खोंचतिर फसेका छन् । सन् १९९२ मा मस्जिद भत्काइँदा भारतमा धार्मिक उग्रवादको उदय भएको कोणको सम्पादकीय नीति अपनाएका सबै ठूला मिडियाले अहिले राम मन्दिरको पुनर्निर्माणलाई राष्ट्रिय आवश्यकताका रूपमा चित्रण गरेका छन् । यसरी हिन्दु पुनरुदयको अपरिहार्यता यतिखेर भारतमा एकांगी संकथन (मोनोलिथिक न्याराटिभ) बन्दै गएको छ । अरू आवाज, विचार र सामाजिक पहिचान यसमा समाहित हुन वा समर्पण गर्न अभिशप्त बन्दै गएका छन् । यो हिन्दुवादी पहिचान अभियानको एकल नायकका रूपमा नरेन्द्र मोदीले राजनीतिक लाभ लिँदै र पाउँदै छन् ।

नेपालमा प्रभाव
भारतपछि नेपाल मात्रै विश्वमा बहुसंख्यक हिन्दु आबादी भएको राष्ट्र हो । छिमेकमा हुने सबै अपेक्षित–अनपेक्षित परिवर्तनको प्रभावबाट यो अछुतो रहन सम्भव छैन । यो सभ्यताका वाहकहरू सामान्यतः हिन्दु पहिचानको उद्बोधनबाट व्यक्त–अव्यक्त रूपमा सन्तुष्ट देखिन्छन् । नेपालमा पनि हिन्दु धर्मलाई औजार बनाएर राजनीतिक दुनो सोझ्याउन आतुर विशेषतः दक्षिणपन्थी शक्तिहरू अझै चलायमान छन् । एकपछि अर्को सरकारले राष्ट्रिय पहिचान र समृद्धिको भावना एवम् राष्ट्रिय साझा महत्त्वाकांक्षालाई आकार र आवाज दिन नसकेकाले अधीर मतदाताहरू कुनै सहजै उपलब्ध विकल्पको खोजीमा छन् ।
यस्तो परिस्थितिमा धर्मको नारा राजनीतिको मूल निर्णायक बन्ने सम्भावना प्रबल छ । यसका संकेतहरू धेरै कोणबाट, यथेष्ट मात्रामा सतहमा देखिइसकेका छन् । मुलुकको राजनीति कुनै पराया धर्म, परम्परा वा धर्म परिवर्तनको सहायक हुनुको सट्टा आफ्नै धर्म र सभ्यतासापेक्ष हुनु के नराम्रो हो र भन्ने प्रश्न असहज होइन, तर धर्मान्ध नाराले लोकतन्त्र र गेरु वस्त्रको छायाले तर्कसांगिक बौद्धिकतालाई ओझेलमा पार्‍यो भने त्यसले सभ्यताको प्रवर्द्धनभन्दा मानमर्दन गर्ने जोखिम अत्यधिक रहन्छ । यो जोखिम भारतमै पनि उत्तिकै छ । तथापि एउटै फरक के हो भने, नेपालमा शून्यमा रहेको राष्ट्रिय आकांक्षा र प्रगतिको भोक त्यहाँ बदलिँदो राष्ट्रिय पहिचानसँगै जुर्मुराएर उठेको छ । नेपालको राजनीति चिरनिद्रामा छ ।

 

 

Page 5
दृष्टिकोण

विश्व–धनकुबेरको हानथापमा नेपाल कता ?

- शुभशंकर कँडेल


हालै मात्र एकै समयमा युरोपको डाभोस र अफ्रिकाको कम्पालामा भएका वर्ल्ड इकोनोमिक फोरम, असंलग्न आन्दोलन (नाम) र जी–७७ का महत्त्वपूर्ण शिखर सम्मेलनले सन् २०२४ र अझै सुदूरकालको विश्व कूट–रणनीतिक प्रवृत्तिलाई गहिरो प्रभाव पार्ने संकेत गरेका छन् । यस पटक अनौठो के देखियो भने डाभोसमा विश्वका मुठीभर धनकुबेरहरूको जम्बोरी थियो भने कम्पालामा पहिलो विश्वयुद्धदेखि नै किनारामा धकेलिएका सीमान्तकृत विकासशील देशहरूले आफ्ना दुःख आपसमा बाँडिरहेका थिए । अझ गहिरो अर्थ त यी दुवै आगामी विश्व व्यवस्थाको संरचनागत परिवर्तन वा निरन्तरतालाई कायम गर्ने भन्नेमा केन्द्रित थिए । एकध्रुवीय विश्व नराम्रोसँग खलबलिएको सन्देश प्रस्टै बुझिने ‘रिबिल्डिङ ट्रस्ट’ डाभोसको मुख्य नारा थियो भने कम्पालाले ‘साझा विश्वव्यापी समृद्धिका लागि गहिरो सहयोग’ को मृगतृष्णालाई मुख्य थिम बनाएको थियो । दुवैतिरका मुख्य खेलाडी तथा नेपालका निकट छिमेकीहरू चीन र भारतका एजेन्डा आपसमा जुधिरहेको भन्दै भारतीय नीतिनिर्माताहरूले पुरानो भूमण्डलीकरण र सहअस्तित्वको नारा असान्दर्भिक (सी राजमोहन, द हिन्दु ः २०२४) भएको विश्लेषण गर्न भ्याइसकेका छन् । विश्वमा खर्बपति धनकुबेरहरू २,५६२ जना रहेमध्ये अमेरिकामा ७४६, चीनमा ४७०, भारतमा १८० र बाँकी दुनियाँभरमा जम्मा ९४७ जना छन् (द इकोनोमिस्ट, १३–१९ जनवरी २०२४) । विश्व आर्थिक साम्राज्यको परिदृश्यमा अनौठो के देखिएको छ भने जापान र दक्षिण कोरियाबाहेक एसिया महादेशका विकासशील देशहरूमा ८९६ जना खर्बपति छन् । पश्चिमा सैन्य–आर्थिक तथा भूराजनीतिक वर्चस्वका लागि यो सबैभन्दा ठूलो चुनौती हो भने एसियाका लागि इन्डो–चीन समझदारी बन्न सकेमा ऐतिहासिक अवसर पनि ।
डाभोसको वार्षिक जम्बोरी विश्व महाशक्ति प्रतिद्वन्द्विता र कथित राष्ट्रवादी पुँजीवादजस्ता अन्तरविरोधी प्रवृत्तिको नवीकरण हो । नाम समिटसँगै कम्पालामा सम्पन्न जी–७७ प्लस चीनको शिखर बैठक एसियाको प्रभुत्व हुने गरी विकसित भइरहेको ग्लोबल साउथको प्रभावकारितालाई कायम गर्न सकिन्छ कि भन्ने असफल प्रयासले डाभोसलाई पक्कै पनि सशंकित बनाएको हुनुपर्छ । डाभोसमा प्रधानमन्त्री पठाएका चिनियाँ राष्ट्रपति सी चिनफिङले कम्पालामा आफ्नो कार्यालयका विशेष प्रतिनिधि पठाएका थिए । चीनको द्वैध चुनौती के छ भने ऊ डाभोस (जहाँ विश्वको आर्थिक साम्राज्य छ) वर्चस्व जमाउने कोसिस गर्दै छ भने कम्पाला (जहाँ १३० भन्दा बढी देशको शक्ति र चीनसहित ७८ देशको वैकल्पिक मिनी आर्थिक साम्राज्य छ) लाई पनि छाड्न चाहँदैन । परिवर्तित ‘वर्ल्ड अर्डर’ लाई पुरानै ढाँचामा कनीकुथी कायम गरेर एसियाको वर्चस्वका बारेको कूटनीतिक विलास पनि हो, यस पटकको कम्पाला समिट । बर्लिन पर्खाल ढाल्दै सोभियत संघको विघटन गराएपछिको विश्वलाई अमेरिकाले आर्थिक तथा सामरिक रूपले निर्बाध दोहन गर्दै आइरहेको छ । त्यसलाई राजनीतिक तथा आर्थिक रंग दिनका लागि ‘वासिङ्टन कन्सेन्सस’ (विश्वव्यापी पुँजीको स्वच्छन्द प्रसारमार्फत सामान, श्रम र सेवाको दोहन) को अवधारणाले झन्डै तीन दशक विश्वमा दबदबा कायम गर्‍यो । यिनै विषयबारे मुखर रूपले डाभोस मञ्चमा वा कानेखुसीका रूपमा स्विस सांगीतिक माहोलका डार्लिङ बारहरूमा अवश्य नै मन्थन भएको हुनुपर्छ । कुनै बेला बजार र क्षमता (मार्केट एन्ड इफिसेन्सी) नै विश्वभरका सत्ता सञ्चालकहरूको दुनियाँभर एकछत्र राज गर्ने मुख्य अस्त्र बन्दै आएको थियो र यसैलाई विश्व व्यवस्थाको नयाँ विचारका रूपमा लिने गर्दै आइएको छ । ‘यस वर्षको फोरम दशकौंको सबैभन्दा जटिल भूराजनीतिक र भू–आर्थिक अवस्थाको पृष्ठभूमिमा... जसलाई पश्चिमी मिडियाले चार ‘सी’ को संक्षेप मानेका छन् । अर्थात् ‘कन्फ्लिक्ट, न्यु कोल्डवार, क्लाइमेट चेन्ज र क्याओस’ का रूपमा संश्लेषण गरिएको छ’ (सम्पादकीय, द ग्लोबल टाइम्स, १५ जनवरी २०२४)।
विश्व–धनकुबेर राज्यहरूको डाभोस जम्बोरी एक दशकयता एक कर्मकाण्डी भेलाभन्दा बढी हुन सकेको छैन । उत्तर–सोभियतकालीन युगका चुनौतीहरूलाई अमेरिका तथा उसको गठबन्धन सञ्जालले सम्बोधन नै गर्न सकेको छैन, जलवायु परिवर्तन जस्ता अहं विषयहरूमा समेत साझा धारणा बनाउन चुक्दै आएको छ । विशेष गरी रुस–युक्रेन युद्ध र इजरायल–हमास संहारमा बेइजिङ बाहेकको मूलतः पश्चिमी विश्व नराम्रोसँग विशृंखलित भएको छ । यही कारण एसिया, अफ्रिका, युरोप र अमेरिका महादेशमा समेत युद्धको बादल मडारिइरहेको छ । यो नै डाभोसमा भेला भएका धनकुबेर राज्य र उग्रराष्ट्रवादी–दक्षिणपन्थी तथा नोकरशाही पुँजीवादी विश्वको गम्भीर चुनौती हो । दोस्रो विश्वयुद्धपछि पहिलो पटक अमेरिकी वर्चस्वमाथि बेइजिङ–मस्कोको रणनीतिक गठबन्धनले थप सामरिक चुनौतीको पहाड नै उभ्याइदिएको सत्यलाई खुला रूपले स्वीकार्न अमेरिकी नीतिनिर्माताहरू बाध्य भएका छन् ।
अक्टोबर ७ मा हमासको बर्बर हमालाको जवाफमा इजरायलले गाजामाथि गरेको नरसंहार, रेड सीमाथि हुथी विद्रोही र अमेरिका–ब्रिटेनबीचको मिसाइल आक्रमण र प्रत्याक्रमण तथा इरान–अमेरिका दुश्मनीले पछिल्लो पटक छिमेकी देश पाकिस्तान र भारतलाई समेत घिसार्दै लगेबाट नेपालमा पनि त्यसको गम्भीर असर पर्ने स्वतः स्पष्ट छ । सिरियामाथि अमेरिकी बमवर्षा, यमनमा जारी द्वैधसत्ता र अमेरिकी असफलताबीच मस्को र तेहरानबीच यसै हप्ता पहिलो पटक ऐतिहासिक रणनीतिक साझेदारी सम्झौता (अलजजिरा डटकम, १६ जनवरी २०२४) हुँदै गर्दा समृद्ध भनिएको पश्चिमी विश्वको मुटु मानिने युरोप पश्चिम र मध्यपूर्वबाट निसासिँदो अवस्थामा लडखडाउँदै छ । यस्ता उपक्रमले संयुक्त राष्ट्रसंघले पहिलो प्राथमिकतामा राखेको भोकमरीविरुद्धको लडाइँ र जलवायु परिवर्तन सम्बोधन लगायतका विश्वव्यापी एजेन्डा छायामा पर्ने निश्चित छ । त्यति मात्र होइन, वर्ल्ड इकोनोमिक फोरमले कुनै सहमतिको दस्तावेज जारी नगरे पनि अर्को वर्षका लागि डाभोस कन्सेन्ससको बुझाइमा पुँजीवादी मैमत्त राज्य र तिनका एजेन्सीहरू फर्कने गर्छन् । सम्भवतः यस पटक डाभोसको कमजोर डिस्कोर्सले इतिहासमै पहिलो पटक कुनै अनौपचारिक सहमतिको सन्देश दिनेभन्दा बढी पश्चिमी जगत्लाई बेइजिङको भय र ग्लोबल साउथको नयाँ प्रवाह तथा मस्कोको नयाँ सैन्य प्रवृत्तिबाट आतंकित मानसिकताका साथ त्रासदीपूर्ण रिट्रिटका रूपमा लिनुपर्ने बनाइदिएको छ, जेनेभा यात्रालाई । डाभोस फोरमको सुरुआतमै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले ‘जलवायु परिवर्तन वा एआई जस्ता विश्वव्यापी चुनौतीहरूको विश्वव्यापी प्रतिक्रियालाई रोक्न भूराजनीतिक विभाजनलाई अनुमति दिनु हुँदैन, जसले विश्वव्यापी शासन प्रणालीमा सुधार गर्न गम्भीर अवरोध गर्ने’ चेतावनी दिएका थिए । डाभोस फोरम गुटेरेसको चेतावनीलाई सम्बोधन गर्न पूर्णतः असफल भएको छ ।
अर्कातिर, असंलग्न आन्दोलनले यसको सामूहिकता र विकसित राज्यहरूसँगको बार्गेनिङलाई विगतका वर्षहरू र विशेष गरी रुस–युक्रेन युद्ध र गाजा नरसंहारका सन्दर्भमा प्रदर्शित टाटपल्टाइले गर्दा नैतिक प्राधिकार गुमाएको छ । यी घटनाक्रममा चालु वर्ल्ड अर्डरलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने ध्याउन्नमा रहेको बेइजिङ मौका ढुकेर बस्यो भने नयाँदिल्ली वासिङ्टनको मन नदुखाउनकै लागि प्यालेस्टिनी जनताको रक्षाभन्दा बढी इजरायली कथित आत्मरक्षाको आक्रमणमा मुखर बन्यो । अझ रमाइलो त, यही लय बिग्रन नदिन काठमाडौंले झन्डै मौन बसेर दिल्लीको दिल नखलबल्यउने बाटो रोज्यो । नेपालले त प्यालेस्टाइनका पक्षमा दृढतापूर्वक उभिनुको साटो लुला खुट्टाले उभिएको अभिनय मात्र गर्‍यो भन्न पनि सकिन्छ । विकास र सैन्य सामर्थ्यका दृष्टिले समेत सबैभन्दा पुछारतिर रहेको नेपाल असंलग्न आन्दोलनका पक्षमा बिनासर्त उभिन सक्दैन भने शक्तिको होडमा रहेका भारत, इन्डोनेसिया वा अरब विश्व चाहिँ किन मुखर बनून् ? यही कारण असंलग्न आन्दोलन राष्ट्रसंघपछिको विश्वकै सबैभन्दा ठूलो सञ्जाल भएर पनि यति बेला पक्षाघातग्रस्त देखिएको छ । यस्तो दुर्दान्त अवस्थाबाट बाहिर निस्कनु नै कम्पाला शिखर सम्मेलनको मुख्य चुनौती थियो । तर नेपालले मात्रै चाहेर केही पनि बदलिने त थिएन । फेरि पनि ‘नाम’ भन्दा कमजोर रसायनले चिप्काइएको प्रचण्ड सरकारले दिल्ली, न्युयोर्क, रोम, बेइजिङ र दुबई हुँदै कम्पालामा जसरी नेतृत्वदायी उपस्थिति देखाएको छ, यो भने प्रशंसनीय छ । अझ बढी कथित धनकुबेरहरूको चाकरी बजाएर लगानी भित्र्याउने मोहपासमा नफसीकन डाभोसभन्दा कम्पाला नै प्रधानमन्त्रीले रोज्नु बढी सान्दर्भिक कदम अवश्य नै हो । केही उपब्रुजुकले किन प्रधानमन्त्रीले एक वर्षमा यतिका धेरै विदेश भ्रमण गरेको भन्नु प्रचण्डप्रतिको रैथाने पूर्वाग्रहभन्दा बढी केही होइन । यस्ता अवसरमा नेपालको उपस्थिति र धारणा व्यक्त गर्ने मौका संयोग र संयोजनले मात्र सम्भव हुने परिघटना हुन् । राज्यको कार्यकारी प्रमुखको स्वाभाविक र अनिवार्य कूटनीतिक कर्तव्यभित्रको नियमित काम नै हो, यी फोरमहरूमा हुने उपस्थिति । बरु यस्ता मञ्च र वार्तामा नेपालको धारणा कति बलियो गरी प्रस्तुत गर्न सकियो वा कमजोरी भयो भन्ने विषयमा भने बहस हुनुपर्छ ।
क्षेत्रीयता हुँदै स्थानीयताको हावा चलिरहेको विश्वमा आसियन र ब्रिक्स जस्ता मञ्चहरू नामभन्दा बढी प्रभावकारी बन्दै छन् । नामका नेतृत्वदायी मानिएका बेइजिङ र नयाँदिल्लीलाई ब्रिक्समा तल पारेर मस्कोले ग्लोबल साउथको पैरवीलाई ग्लोबल नर्थ–साउथको दिशातिर लैजाने निश्चित जस्तै छ । त्यसै पनि नाम र जी–७७ दुवै फोरमको मुख्य खेलाडी भएको बेइजिङले अमेरिकी विश्व व्यवस्थालाई आफूअनुकूल बनाउन बीआरआई, जीएसआई, जीसीआईदेखि जीडीआई हुँदै दर्जनौं क्षेत्रीय तथा विश्व सञ्जाललाई आफ्नो पक्षमा पार्ने कोसिस गर्दै आएको छ । बेइजिङका यस्ता अभियानले नामको एजेन्डालाई स्वतः छायामा पारेको चिनियाँ सरकारको मुखपत्र मानिने द ग्लोबल टाइम्सको १५ जनवरीको डाभोसकेन्द्रित सम्पादकीयले झनै स्पष्ट गरेको छ । अर्कातिर, सन् २००८ देखि नै अमेरिकासँगको आणविक–रणनीतिक साझेदारी र हालैको मस्कोसँगको रणनीति नवीकरण जस्ता परस्पर अन्तरविरोधी रवैयाले नयाँदिल्ली विश्व राजनीतिक मञ्चमा कहाँनेर पर्ने भन्ने गम्भीर द्वन्द्वको भुमरीमा धकेलिएको छ । यसलाई लिपपोत गर्न नै कम्पालामा भारतीय विदेशमन्त्रीले तीन दिनमा डेढ दर्जनभन्दा बढी समकक्षी तथा राष्ट्रप्रमुखसँग पैरवी गर्नुपरेको हो भनी स्पष्टै बुझ्न सकिन्छ । यसले गर्दा नयाँदिल्लीका लागि बेइजिङलाई जस्तै नामको सिद्धान्त अघि बढाउनमा रुचि भए पनि फुर्सद मिल्ने भूराजनीतिक परिस्थिति नै छैन ।
डाभोस र कम्पालालाई बेइजिङले अमेरिकी विश्व व्यवस्था विस्थापन गर्ने विश्वास दिलाउने मञ्चका रूपमा उपयोग गर्न भरमग्दुर कोसिस गरेको छ भने नयाँदिल्लीले तीनवटै मञ्चमा बेइजिङ र वासिङ्टनको तनावबीच मध्यस्थ बन्ने प्रयत्न आफैंमा हास्यास्पद छ । नयाँदिल्लीले त्यसै पनि डोनाल्ड ट्रम्पको दक्षिणपन्थी बाटो हिँडेर ब्राजिल र दक्षिण अफ्रिका जस्ता प्रगतिशील पार्टनरलाई चिढ्याउने काम गर्दै आएको छ । झन् यही वर्ष अमेरिका र भारतमा हुने चुनावले ट्रम्प र मोदीको शासनलाई अनुमोदन गर्ने अधिकतर सम्भावनाले पनि असंलग्न आन्दोलन जस्ता मञ्चहरूमा नयाँदिल्लीको उपस्थिति लोकाचार मात्र प्रतीत भएको छ ।
दोस्रो विश्वयुद्धको समाप्ति र शीतयुद्धको एक दशक लामो कहरपछि मूलतः तेस्रो विश्वका देशहरूले ६७ वर्षअघि पूर्व र पश्चिमबीचको असहज शीतयुद्धको वातावरणमा अफ्रिका महादेशलाई समेत जोड्ने गरी सुरु गरेको असंलग्न आन्दोलन यति बेला नराम्रोसँग लडखडाएको छ । राष्ट्रसंघको बडापत्रको सम्मान, राष्ट्रिय स्वाभिमानको मान्यता, विकासोन्मुख देशहरूको आवाजलाई विश्वमञ्चमा संयुक्त अपिल र हस्तक्षेप गर्नुपर्ने गुरुतर दायित्वबाट नामका मुख्य खेलाडी नै तमासे बनेबाटै यसको हैसियत उजागर भएको छ । असंलग्न आन्दोलनले अन्तर्राष्ट्रिय संकटलाई अवसरका रूपमा उपयोग गर्दै शान्ति र समृद्धिमा जोड दिन एवं सदस्य राष्ट्रहरूलाई पनि प्रभावकारी बनाउन सक्छ भन्ने आशा राखिएको कम्पाला सम्मेलनले स्वयं सदस्य राष्ट्रहरूको कन्पारो तात्ने अवस्था उत्पन्न गरिदिएको मान्न सकिन्छ (सहगल ः २०१९)।
विश्वको करिब आधा जनसंख्या रहेका विकासशील र विकासोन्मुख मुलुकहरूको हित, विकास र साझेदारीलाई प्रभावकारी बनाउनु असंलग्न आन्दोलनको उद्देश्य थियो । यसलाई मुखर बनाउन माओ त्सेतुङ र चाउ एनलाई, फिडेल क्यास्त्रो, जवाहरलाल नेहरू र मार्शल टिटो जस्ता नेताहरूको विश्वव्यापी प्रभावले पनि काम गरेको थियो । तर यति बेला त्यस्तो आशा गरिएका मुख्य दुई देशका मुखियाहरूमध्ये एउटा अमेरिकालाई विस्थापन गर्ने तारतम्य मिलाउने रणनीतिमा व्यस्त रहेपछि र अर्को वासिङ्टनमा आउने नयाँ मुखिया ट्रम्पसँग मिलेर बेइजिङको बाटो छेक्ने प्रतिस्पर्धामा उत्रेपछि असंलग्न आन्दोलन उनीहरूका लागि दम्भको प्रदर्शनभन्दा बढी केही बन्न सकेन ।
अमेरिकी विश्वलाई संवर्द्धन गर्ने विश्व व्यवस्थाको संयुक्त राष्ट्रसंघ त अनावश्यक झमेलाजस्तो बन्दै गएको परिवेशमा तटस्थता र असंलग्नताको नामबाट बढी आशा त कसरी गर्न सकिन्छ र ? तर चीन र भारतबीच च्यापिएको नेपालका लागि असंलग्न आन्दोलनको अपरिहार्यता प्रस्टै छ । नेपालको संविधानले पनि ‘अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमार्फत स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितको व्यवस्था’ को परिकल्पना गरेको छ ।
साना टापु राष्ट्रहरू, विकासोन्मुख र कम विकासशील मुलुकहरूले विगतदेखि नै अनेकौं समस्या र चुनौतीको सामना गर्दै आइरहेका छन् । आतंकवाद, गलत सूचना र नक्कली समाचार आदिले सामाजिक एकता र जनसुरक्षामा गम्भीर धक्का दिइरहेको विश्वमा छलफलकै लागि मात्र भए पनि नामजस्ता फोरमको जीवन्तता आवश्यक छ । असंलग्न आन्दोलनमा सदस्य रहेका अधिकांश गरिब, साना टापु राष्ट्रहरू, विकासोन्मुख र कम विकासशील मुलुकहरू द्वन्द्व, हिंसा, शक्तिको होडबाजी र आर्थिक असमानता तथा जलवायु परिवर्तन जस्ता गम्भीर संकटबाट गुज्रिरहेका छन् । नेपाल अपवाद छैन ।
प्रचण्डका लागि संयोग नै मान्नुपर्छ, राष्ट्रसंघीय महासचिवलाई नेपाल घुमाउनेदेखि उनीसँग आफ्नो कार्यकालको एक वर्षमा चार पटकभन्दा बढी भेटघाट र छलफल गर्ने अवसर पाएका छन् । यो अवसरले नेपालको गरिबीविरुद्धको लडाइँ र जलवायु परिवर्तनका सन्दर्भमा हिमालय शृंखलाको संरक्षणमा विश्व लगानी जुटाउन केही हदसम्म सहयोगी हुन सक्छ । राजनीतिक रूपले त प्रचण्डले दसवर्षे जनयुद्ध र शान्ति प्रक्रियाका बारेमा राम्रैसँग दुनियाँलाई बताउने अवसरलाई पनि भरपूर उपयोग गर्न पाए । तर उनी न्युयोर्क, रोम र दुबईमा जति जमेका थिए, कम्पालामा भने त्यति नै एक्लिएको जस्तो देखिनुले देशमा संस्थागत तथा संरचनागत शासकीय अभ्यासको सर्वथा अभाव रहेको पुनर्पुष्टि भएको छ । उपर्युक्त बहुपक्षीय, क्षेत्रीय वा द्विपक्षीय मञ्च, वार्ता र छलफलमा कामचलाउ शैलीमै भए पनि प्रधानमन्त्रीका हैसियतमा प्रचण्डले गरेको पहललाई शासकीय संस्थागत ढाँचाको नियमित अभियान बनाउन सके मात्र यस्ता ठाउँमा उपस्थिति र पैरवीको उपादेयता सिद्ध हुनेछ ।

दृष्टिकोण

खुला स्पर्धाबाट उपकुलपति नै सुधारको प्रस्थानबिन्दु

- सम्झना वाग्ले भट्टराई

 

 

केही वर्षअघि एमफिल उत्तीर्ण गरेपछि आफैंले पढेको त्रिभुवन विश्वविद्यालयमा पढाउने सोच थियो । सँगै पढेका केही साथीले आंशिक शिक्षकका रूपमा अध्यापन सुरु गरिसकेका थिए । एक–दुई पिरियड पढाउन पाए ‘एक्सपोजर’ पनि हुने, केही कमाइ पनि हुने सोचेर विभागीय प्रमुखसहित विश्वविद्यालयका केही पदाधिकारीसँग कुरा गरें ।
कुराकानीको सुरुआती क्रममा लगभग सबैजसोको भनाइ उस्तै थियो, ‘तपाईंजत्तिको मान्छेलाई पढाउन दिनैपर्ने हो तर हामीले मात्र चाहेर हुँदैन ।’ कसले चाहनुपर्ने होला ? मेरो स्वाभाविक प्रश्न । एक–दुई चरणको यस्तै भेटघाटपछि अधिकांशले सल्लाह दिए– विश्वविद्यालयमा पढाउन प्रवेश चाहने हो भने आफ्नो राजनीतिक संलग्नता खुलाउनुपर्छ । यसले भागबन्डालाई सहज बनाउने उनीहरूको तर्क थियो । मैले कुरा गरेका पदाधिकारीहरूले मलाई व्यक्तिगत रूपमा चिन्थे तर राजनीतिक रूपमा खुलेकी थिइनँ । व्यक्तिको राजनीतिक आस्था हुनु अनौठो कुरा भएन, मेरो पनि छ । चुनावमा भोट हालेकी छु । तर कुनै पनि दलको झोला/झन्डा बोकेर हिँडेकी छैन किनकि मैले चाहेको पेसाको सामान्य आचारसंहिताले पनि झन्डा बोकेर हिँड्न दिँदैन । त्यसैले विश्वविद्यालयमा पढाउनकै लागि मैले आफ्नो राजनीतिक आस्थाको प्रमाण पेस गरिनँ र त्रिविमा पढाउन पाइनँ ।
त्रिविमा आबद्ध अधिकांशलाई थाहा छ, कर्मचारीदेखि प्राध्यापकसम्म को कुन दलको पुच्छर समाएर विश्वविद्यालय छिरेका हुन् वा प्रगतिको सिँढी चढेका हुन् भनेर । दलको पुच्छर समाउन नचाहनेहरूका लागि विश्वविद्यालयमा अभेद्य पर्खाल छ भन्न हिचकिचाउनु पर्दैन् । मेरो जस्तै नियति भोगेका धेरै साथी म चिन्छु । एक–दुई पिरियड पढाउनका लागि त यस्तो हुने विश्वविद्यालयमा कुनै पदाधिकारीका लागि केसम्म होला ? आकलन गर्न सकिन्छ ।
यस्तो पृष्ठभूमिमा खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्तिको चर्चाले सरोकारवालाबीच बहसहरूको उठान गरायो । खुला प्रतिस्पर्धाबाट नियुक्ति, सुन्दा आकर्षक लागे पनि यसले कुनै परिणाम दिनेबारे संशय व्यक्त गर्न कैयौं आधार छन् ।
विश्वविद्यालय बुझेका सबैले स्विकारेकै कुरा हो– यहाँ देखिएका बग्रेल्ती समस्याको जरो दलीयकरणको जगजगी हो । पठनपाठनदेखि प्रशासनसम्म प्रत्यक्ष हस्तक्षेप गर्ने विद्यार्थीको दलीय राजनीति, दलका शिक्षक र दलका कर्मचारी विश्वविद्यालय बिग्रनुका कारक हुन् । त्यसो त विश्वविद्यालयमा आबद्ध शिक्षक, कर्मचारी र विद्यार्थीको राजनीतिक आस्था स्वाभाविक हो तर यी पक्षबाट कार्यक्षेत्र मिचेर हुने दलीय हस्तक्षेप प्रमुख समस्या हो । यिनले नचाहीकन वा यिनको मिलिभगतबिना विश्वविद्यालयमा न हावा चल्छ, न पात झर्छ । यस्तो परिस्थितिमा प्रधानमन्त्रीको घोषणाले मात्र स्वतन्त्र ढंगले उपकुलपतिको नियुक्ति हुन सक्ला ? वा, यसरी नियुक्त उपकुलपतिले काम गर्ने वातावरण पाउलान् ? चासो स्वाभाविक हो ।
मानिलिऔं, विश्वविद्यालयको नेतृत्व मन, वचन र कर्मले नै खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति नै ल्याउनेमा निर्णयकर्ता र सरोकारवाला सबैमा पवित्र नियत छ, तर अहिले जोसुकै उपकुलपति ल्याए पनि दलीय राजनीतिको पोखरीमा पौडी खेलेका मध्येबाटै ल्याउने हो । नियुक्तिपश्चात् उपकुलपति नाभी जोडिएको दलप्रति बफादार नहोला भन्ने के ग्यारेन्टी ? त्यस्तै, उपकुलपति एक्लैले त विश्वविद्यालय चलाउने होइन, यस्तै कुनै प्रक्रियाबाट आउने रेक्टर, रजिस्ट्रार, डिन आदिबाट विश्वविद्यालयको प्रशासन चल्ने हो । विश्वविद्यालयको शैक्षिक उन्नयनका ड्राइभरहरू यिनै हुन् । के यी पदमा पनि खुलाबाट नियुक्त होलान् ? वा, उनीहरूको पनि नाभी जोडिएका दलहरू होलान् नै । त्यसैले निरपेक्ष स्वतन्त्र उपकुलपति तथा तन, मन र वचनले खुला प्रतिस्पर्धाबाट नियुक्ति कम्तीमा यो दलीय जगजगीमा असम्भव जस्तै देखिन्छ ।
दलीय निकटता खुलाजस्तै भए पनि उपकुलपतिका
लागि सक्षम र नियुक्ति भइसकेपछि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने सम्भावना भएका प्राध्यापकहरू नभएका होइनन् । तर ती सम्मानित प्राध्यापकहरू यो चक्रव्यूहमा हेलिन तयार होलान् ? किनकि, एक त व्यावहारिक रूपमै खुला प्रतिस्पर्धाको अभ्यास हुनेमा धेरैमा सन्देह छ । अर्को, वर्तमान कुलपति आफ्नो प्रतिबद्धतामा अटल रहे पनि यसपछि आउने कुलपति र त्यस बेलाको राजनीतिले काम गर्ने वातावरण देला ? यसमा झन् ठूलो सन्देह छ ।
केही उदाहरण हेरौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सरकारी थिङट्यांकको अभाव पूरा गर्न नीति अनुसन्धान प्रतिष्ठान खोलिएको थियो र यसको नेतृत्वको जिम्मा अर्थशास्त्रका प्राध्यापक डा. श्रीराम पौडेललाई दिइएको थियो । प्रतिष्ठानले नीतिगत अध्ययन अनुसन्धानका क्षेत्रमा केही राम्रा काम सुरु गरेको थियो । प्रतिष्ठानले काम सुरु गरेको एक वर्ष नबित्दै सरकारको नेतृत्व परिवर्तन भयो । प्रधानमन्त्री सुशील कोइराला सकारात्मक हुँदाहुँदै पनि नीति अनुसन्धान प्रतिष्ठान तत्कालीन अर्थमन्त्रीको दलीय कोपभाजनमा पर्‍यो । सक्षम र योग्य प्राध्यापकलाई दलीय राजनीतिले काम गर्न नदिएको एउटा उदाहरण हो यो । यसको केही वर्षपछि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्रको नेतृत्वमा नीति अनुसन्धान प्रतिष्ठानलाई पुनर्जन्म दियो । तर काम गर्ने वातावरण नभएको भन्दै प्राध्यापक मिश्रबाट पनि छिट्टै राजीनामा आयो । योग्य व्यक्तिलाई काम गर्न नदिइएको यो अर्को उदाहरण थियो । त्यस्तै, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्रिविको उपकुलपति नियुक्त गरेका केदारभक्त माथेमालाई त्यसपछिका प्रधानमन्त्री मनमोहन अधिकारीले राम्रो काम गर्न ढाडस दिँदा पनि तत्कालीन शिक्षामन्त्री मोदनाथ प्रश्रितले राजीनामा दिन बाध्य पारेको कुरा माथेमाले खुलाएका छन् । यी तीनै उदाहरणले विषयगत विज्ञतालाई दलीय स्वार्थले कसरी काम गर्न दिँदैन भन्ने देखाउँछन् ।
त्यसो भए विकल्प के त ? उपकुलपति कसरी नियुक्त गर्ने ? नियुक्तिका मापदण्ड के हुने भन्नेमा प्रशस्त बहस भएका छन् । खुला प्रतिस्पर्धाबाट नियुक्तिलाई सन्देहबीच पनि धेरैले स्वागत गरेको देखिन्छ । तर नियुक्ति आफैंमा उपलब्धि होइन, नियुक्तिका लागि अपनाइएको विधि र त्यसपश्चात् विश्वविद्यालय सुधारमा कस्तो परिणाम आयो त भन्ने कुराले खास अर्थ राख्छ । त्यसैले त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि–२०८० मा उल्लेख भएको र यसभन्दा फरक पनि नियुक्तिको विकल्प हुन सक्छ भन्ने तर्क यस लेखले राखेको छ ।

विकल्प एक ः खुला प्रतिस्पर्धाबाट नियुक्ति
अहिले चर्चा चलेजस्तै खुला प्रतिस्पर्धाबाट नियुक्ति राम्रो सुरुआत हो । अहिले नै यसले परिणाम दिने अपेक्षा गर्न सकिन्न । खुला प्रतिस्पर्धाबाट आएका उपकुलपतिले पनि विश्वविद्यालयमा रहेका विभिन्न दलका विद्यार्थी संगठन, कर्मचारी संगठन, शिक्षक संगठन आदि दर्जनौं संगठनका विविध स्वार्थ र जालझेललाई कसरी थेग्लान् ? के ती संगठनले काम गर्न देलान् ? अति राजनीतीकरणले जरासम्म खलबलिएको हाम्रा विश्वविद्यालयमा काम गर्न जटिल त छँदै छ । त्यसैले खुलाबाट आएकाले परिणाम दिनेमा प्रशस्त आशंका रहन्छ । तर यो विधि स्थापित भएमा पछिपछि भने विश्वविद्यालय सुध्रिँदै जानेमा आश्वस्त हुन सकिन्छ ।

विकल्य दुई ः प्रधानमन्त्रीबाट प्रत्यक्ष नियुक्ति
विश्वविद्यालय कस्तो बनाउने, मुख्य रूपमा प्रधानमन्त्रीको प्रतिबद्धताको कुरा हो । प्रधानमन्त्री (कुलपति) सँग सूचनाका स्रोतहरू अथाह हुन्छन् । प्रधानमन्त्रीले चाहने हो भने उपलब्ध विकल्पबाट उत्तम विकल्प छान्न कुनै अप्ठ्यारो हुँदैन । दलीय स्वार्थको क्षुद्र प्रहारबाट बचाउने हो भने उपकुलपतिका रूपमा काम गर्न सक्ने योग्य व्यक्तिको छनोट प्रधानमन्त्रीबाट हुन सक्छ । सुन्दा नमीठो लागे पनि दलीयकरणको यो भासमा रहेको विश्वविद्यालयबाट स्वतन्त्र छनोट आफैंमा अव्यावहारिक हो । बरु पदीय जिम्मेवारीपछि कुनै पनि दल वा सरकार प्रमुखले राजनीतिक हस्तक्षेप नहुने र विश्वविद्यालयको प्राज्ञिक र व्यावसायिक उन्नयनमा पूर्णतः सहयोग गर्नेमा प्रतिबद्धता जनाउन सकिन्छ । यसका लागि गठबन्धनमा रहेका प्रमुख दलहरू र प्रमुख प्रतिपक्षलगायतको पनि भूमिका हुन्छ नै ।

विकल्प तीन ः अन्तर्राष्ट्रिय उम्मेदवारबाट छनोट
उपकुलपतिमा दलीय रङ नलागेको व्यक्ति ल्याउने हो भने अन्तर्राष्ट्रिय उम्मेदवारबाट छनोट एउटा उत्तम विकल्प हुन सक्छ । यसका लागि त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि–२०८० मा उल्लेख भएको नेपाली नागरिक हुनुपर्ने प्रावधान संशोधन गर्न सकिन्छ । यसका लागि अन्तर्राष्ट्रिय रूपमा विज्ञापन गर्ने, छनोटका प्रावधानहरूमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सबै मापदण्ड उल्लेख गरी उम्मेदवारको विश्वविद्यालय सुधार योजना, अनुभव आदिको मूल्यांकन गरी अन्तर्राष्ट्रिय उम्मेदवारबाट योग्यलाई नियुक्ति दिन सकिन्छ । यसमा सेवासुविधा अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने हुँदा खर्चको भार बढ्ने भए पनि दलीय चलखेल भने कम हुन्छ । तर यसमा चर्को आलोचनाको भने सामना गर्नुपर्ने देखिन्छ । किनकि अति राजनीतीकरणले थेत्तरो भएको हाम्रो समाजमा अतिराष्ट्रवाद झनै चर्को हुने, ‘कन्स्पिरेसी थ्यौरी’ मौलाउने सम्भावना प्रबल हुन्छ ।
र अन्त्यमा, कम्तीमा विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने विषय बहसमा आयो । यसलाई सुखद सुरुआतका रूपमा लिनुपर्छ । राजनीतिले बिगारेको विश्वविद्यालयलाई राजनीतिक इच्छाशक्तिले नै सुधार गर्न सक्छ । त्यसैले परिवर्तनको यो पहलका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनपर्छ । बाँकी त परिणामले देखाउँदै लैजाला ।

Page 6
समाचार

जसपा–जनमत विवाद उत्कर्षमा

- अवधेशकुमार झा

(राजविराज)
मधेसमा सत्ता साझेदार दुई दल जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच विवाद चर्किएको छ । राजविराजमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन उद्घाटन कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर निम्त्याइएपछि जसपा–जनमत विवाद उत्कर्षमा पुगेको हो । यही विषयलाई लिएर नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
सोमबार हुने विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जसपाका अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउन नहुने भन्दै जनमतका नेता/कार्यकर्ताले आइतबारदेखि नै विरोध जनाएका छन् । सडकमा टायर बालेर प्रदर्शन गरेका उनीहरूले विश्वविद्यालयमा समेत तालाबन्दी गरेका छन् । जनमतका अध्यक्ष सीके राउतको क्षेत्रमा हुने उक्त कार्यक्रममा यादवलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको भन्दै जनमतका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।
जनमतका तर्फबाट प्रदेश सरकारको शिक्षामन्त्री रहेका महेश यादवले आइतबार विश्वविद्यालयको सहकुलपतिको हैसियतमा उक्त कार्यक्रम नै स्थगित गर्न निर्देशन दिएका छन् । तर जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले भने कार्यक्रम यथोचित समयमै हुने बताएका छन् । सोमबारको कार्यक्रमका लागि राजविराजमा प्रहरी परिचालन बाक्लो पारिएको छ । मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारमा सामेल जनमतका मन्त्रीहरू संस्कारहीन रहेको आरोप लगाए । केन्द्रीय सत्ता गठबन्धनमा भएका कारण जनमतका मन्त्रीहरूलाई सरकारबाट हटाउन नसकेको उनको भनाइ छ ।
‘जनमत पार्टी अराजकहरूको समूह हो, यो पार्टीका मन्त्री संस्कारहीन छन्,’ आइतबार साँझ कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने ।
आफूसँग परामर्श नै नगरी शिक्षामन्त्री यादवले कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि आक्रोशित मुख्यमन्त्री यादवले जनमतका विषयमा यस्तो टिप्पणी गरेका हुन् । ‘जनमतका मन्त्रीलाई लाजसरम् हुँदैन ?,’ मुख्यमन्त्री यादवले भने, ‘सरकारमा पनि बस्ने अनि सरकारको विरोध पनि गर्ने ?’ मुख्यमन्त्री यादवले मधेशमा जनमतको जन्म हुनु अगावै जसपाका अध्यक्ष यादवले कृषि विश्वविद्यालयको परिकल्पना गरेको भन्दै त्यही कारण शिलान्यास कार्यक्रम यादवको प्रमुख आतिथ्यतामा गर्न लागिएको उनको दाबी छ । ‘मधेशकै गौरव योजनाका रूपमा रहेको कृषि विश्वविद्यालय स्थापनामा अध्यक्ष यादवको अहम् भूमिका छ, त्यसैले उहाँबाट शिलान्यास गराउने तयारी गरिएको हो,’ मुख्यमन्त्री यादवले भने ।
शिक्षामन्त्री यादवले स्थगित गर्न निर्देशन दिए पनि सोमबारको शिलान्यास कार्यक्रम पूर्वनिर्धारित कार्यतालिकाबमोजिम नै हुने मुख्यमन्त्री यादवले बताए । यता जनमतका अध्यक्ष राउतले भने उपेन्द्र यादव गौर घटनाको मुख्य योजनाकार रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गौर–नरसंहार गरेर दर्जनौंको निर्मम हत्या गरेको मान्छे मेरो क्षेत्र सप्तरीमा दंगा मच्चाउन, हत्याहिंसा गर्न किन आउनुपर्ने ? न उहाँको यहाँ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि ? अनि किन उपकुलपति र रजिस्ट्रारलाई जबर्जस्ती दबाब दिएर प्रमुख अतिथि बन्नुपर्ने ?’ उनले आफूहरूले विश्वविद्यालयको भवन शिलान्यास गर्न नरोकेको भन्दै कानूनबमोजिम हुनुपर्ने माग गरेको बताएका छन् । यसबारे राउतसँग सम्पर्क गर्दा उनले सामाजिक सञ्जालमा सार्वजनिक धारणा नै आफ्नो आधिकारिक भनाइ रहेको बताए ।
केही दिनअघि प्रदेश सरकारको एक वर्षको प्रगति समीक्षा कार्यक्रममा समेत जसपा र जनमतबीच मतभेद भएको थियो । सार्वजनिक कार्यक्रममै जनमतका मन्त्रीको इसारामा कार्यकर्ताहरूले प्रदेश सरकार मुर्दावाद भन्दै नारा लगाएपछि मुख्यमन्त्री यादव जनमतप्रति चिढिएका थिए ।

Page 7
अर्थ वाणिज्य

बैंकको खराब कर्जा बढ्यो, नाफा घट्यो

- यज्ञ बञ्जाडे

(काठमाडौं)
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंक तथा वित्तीय संस्थाको खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसलाई आर्थिक गतिविधिमा देखिएको सुस्तीको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा परेको रूपमा जानकारहरूले विश्लेषण गरेका छन् । अर्थतन्त्र शिथिल हुँदा आर्थिक गतिविधि प्रभावित भएको र यसले ऋणीको साँवा तथा ब्याज भुक्तानी क्षमतामा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको नाफा घटेको उनीहरूको तर्क छ । बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार धेरैजसो वाणिज्य बैंकको खुद नाफा घट्नु र खराब कर्जा बढ्नुले पनि शिथिल अर्थतन्त्रको असर बैंकहरूको वासलातमा परेको पुष्टि हुने उनीहरूको भनाइ छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वाणिज्य बैंकले २८ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनलामा यो करिब ८.४४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकहरूको खुद नाफा ३१ अर्ब ३४ करोड रुपैयाँ थियो । यो तथ्यांकका आधारमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा करिब साढे ८ प्रतिशतले घटेको देखिए पनि बैंकरहरूले यसलाई १५ प्रतिशतले कमी भएको बताउँदै आएका छन् । गत आर्थिक वर्षको यस अवधिमा ६/७ वटा बैंकले मर्जरपछिको एकीकृत वित्तीय विवरण प्रकाशन गरेका थिए । त्यही वित्तीय विवरणसँग तुलना गर्दा अहिले कम देखिए पनि यथार्थमा करिब १५ प्रतिशतले नाफामा कमी आएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ ।
आर्थिक गतिविधिमा सुस्तता आएपछि त्यसको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको केसीले जनाए । ‘तथ्यांकलाई राम्रोसँग केलाएर हेर्दा औसतमा वाणिज्य बैंकहरूको खुद नाफा करिब १५ प्रतिशतले घटेको देखिन्छ,’ उनले भने, ‘पहिलो त्रैमासभन्दा नाफा केही बढेको र नोक्सानी व्यवस्था घटेको देखिन्छ । पहिलो त्रैमासमा बैंकहरूले करिब १७ अर्ब नोक्सानी व्यवस्था गरेका थिए, अहिले करिब साढे १० अर्ब नोक्सानी व्यवस्था भएको छ । केही बैंकको कर्जा असुली (राइट ब्याक) पनि भएको छ ।’
अर्थतन्त्र चलायमान हुन नसकेको, अपेक्षाअनुसार कर्जा विस्तार नभएको, कर्जा र निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) घटेकोलगायत कारण बैंकहरूको नाफा घटेको केसीले बताए । ‘पहिलो त्रैमासमा १ खर्ब १० अर्बभन्दा बढीको कर्जा प्रवाह भएको थियो, दोस्रो त्रैमासमा ५८ अर्ब मात्र गएको छ,’ उनले थपे, ‘अपेक्षाअनुसार न त कर्जा प्रवाह नै भयो, न त असुली नै । स्प्रेड पनि घट्दै गएको छ ।’ कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना सुविधा नभएको भए बैंकहरूको खराब कर्जा झन् माथि पुग्ने उनको भनाइ छ । ब्याजदर घटिरहेको छ, सेयर बजारमा पनि सुधार देखिन्छ, घरजग्गा क्षेत्रमा पनि चहलपहल बढ्न थालेको छ । तर पनि कर्जा मागमा अपेक्षित सुधार नभएको उनले जनाए । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको खुद ब्याज आम्दानी ९६ अर्ब २० करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यो १७.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएका थिए । समग्रमा १७ वाणिज्य बैंकको नाफा घटेको छ । यस पटक सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल बैंक छ । बैंकको एक अर्ब १७ करोडबाट नाफा घटेर ५९ करोड रुपैयाँ पुगेको हो । सबैभन्दा धेरै नाफा बढ्नेमा प्राइम कमर्सियल बैंक छ । बैंकको नाफा ३२.१२ प्रतिशतले बढेर दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जामा समेत सुधार भएको छैन । गत पुससम्म बैंकहरूको खराब कर्जा औसत ३.१७ प्रतिशत छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा दर औसतमा ३.३३ प्रतिशत थियो । गत आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासमा भने यस्तो खराब कर्जा औसतमा २.२९ प्रतिशत थियो । दोस्रो त्रैमाससम्म कुल ४४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूको खराब कर्जा करिब १४ अर्ब १७ करोड बराबर छ । खराब कर्जा बढेसँगै प्रावधानमा राखिने रकमसमेत वृद्धि भएको वित्तीय विवरणहरूले देखाएका छन् ।
वित्तीय विवरणहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंकहरूको अवस्था राम्रो नदेखिएको बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहालले बताए । ‘मेरो विचारमा बैंकहरूमा तथ्यांकमा देखिएभन्दा बढी खराब कर्जा छ जस्तो लाग्छ । यो अझ बढ्दै छ, गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । यसकारण मैले त समस्यै देखेको छु,’ उनले भने, ‘यस विषयमा अर्थमन्त्री, गभर्नरलगायत यो क्षेत्रका जिम्मेवार व्यक्ति एकै ठाउँमा बसेर संवेदनशील भएर छलफल गर्नुपर्छ ।’ अहिले राष्ट्र बैंकले पाँच करोड रुपैयाँसम्मको कर्जालाई पुनर्तालिकीकरण र पुनर्संरचना सुविधा दिएको छ । यो सुविधा नभएको भएको भए बैंकहरूको खराब कर्जा दोस्रो त्रैमासमै धेरै माथि जाने सम्भावना रहेको उनको दाबी छ ।
अर्थतन्त्र शिथिल रहेकाले उत्पादन घट्नुका साथै बजार माग पनि घटेकाले ऋणीको ऋण भुक्तानी क्षमता घट्दा बैंकको वित्तीय विवरण प्रभावित भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जनाए । ‘ऋणीहरू बैंकमा आएर हाम्रो कारोबार शिथिल छ, अहिले साँवा–ब्याज तिर्न सक्दैनौं, धितो लिलाम गर्ने भए गर्नुस् भन्छन्,’ ती अधिकारीले भने, ‘यस्तो अवस्थामा के गर्ने हामी अप्ठ्यारोमा परेका छौं ।’
विद्यमान व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सबै क्षेत्रमा प्रवाह गरेको ५ करोड रुपैयाँसम्मको कर्जा र होटल तथा रेस्टुरेन्ट, पशुपन्छीपालन, निर्माण शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित परियोजनामा लगानीमा रहेको कर्जामा ०८० पुससम्म पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्न पाएका छन् । यसअघि यस्तो सुविधा ०८० असारसम्मका लागि मात्र थियो । हाल बैंक तथा वित्तीय संस्थाले असल कर्जामा १.२५ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि असल कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्थ्यो । यो व्यवस्थाले पनि नोक्सानी व्यवस्था धेरै बढ्न नदिएको स्रोतको दाबी छ ।

अर्थ वाणिज्य

इच्छाराज दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ र मीनाकुमारीलाई दोषी ठहर गरेको हो । सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप २ जना पनि दोषी ठहर भएको विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले जनाए ।
यो मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ मा इजलास तोकिएको छ । उनीहरूविरुद्ध सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेका तर्फबाट सांसदसमेत भएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७९ भदौ १६ मा इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन् । तामाङमाथि आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग लगाएको हो ।
विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ । आयोगले तामाङको घर, जग्गा, सम्पत्ति जफतको मागसमेत गरेको छ । तामाङविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । इच्छाराजले आफूले गैरकानुनी रूपमा कमाएको सम्पत्ति छोरीहरू प्रतीक्षा र प्रतिष्ठाको नाममा लुकाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी छ ।
विभागले ०७६ सालदेखि नै तामाङ आबद्ध सिभिल सहकारी र कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको थियो । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरेको थियो । मुद्दा भने गत वर्ष मात्र दायर गरेको हो ।
तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले ०७८ पुसमै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । अदालतले गत थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सोही निर्देशनअनुसार तामाङ अहिले पनि थुनामा थिए ।
त्यति बेला अदालतले पक्राउ परेका १२ मध्ये अन्य ९ जनालाई धरौटीमा र एक जनालाई साधारण तारिखमा छाड्ने आदेश गरेको थियो । उनीहरूबाट ५० हजारदेखि ५० लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो । सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले ०७८ असोजमा १८ मा तामाङलाई पक्राउ गरेको हो । उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्रिएको हो । सिभिल सहकारीले २ वर्ष (२०७६ वैशाख) देखि बचतकर्ताको रकम फिर्ता नगरेको बचतकर्ताहरूले बताएका छन् । सहकारीमा सर्वसाधारणको एक लाखदेखि ८ करोड रुपैयाँसम्म बचत छ ।
०५७ सालमा स्थापित सिभिल सहकारीमा करिब साढे २ वर्षअघि समस्या सुरु भएको हो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर संस्थाले साढे सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । सोही अवधिमा संस्थाले करिब ८ अर्ब रुपैयाँ सिभिल होम्सलाई मात्र कर्जा दिएको छ, जुन कानुनविपरीत हो ।

अर्थ वाणिज्य

पेट्रोलियम अन्वेषण क्षेत्रको मुआब्जा बाँडियो

- ज्योति कटुवाल

(सुर्खेत)
भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घरपरिवारले मुआब्जा पाएका छन् । उनीहरूले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा पाएका हुन् । अन्वेषण क्षेत्रमा आवश्यक पर्ने ४५ रोपनीको मुआब्जा वितरण सकिएसँगै अन्वेषणको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
‘मुआब्जा वितरण भएर खानी तथा भूगर्भ विभागका नाममा लालपुर्जासमेत आइसकेको छ,’ उनले भने, ‘अब कामका लागि बाहिरी क्षेत्रमा कुनै समस्या छैन । अन्वेषणको काम सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।’ यसअघि मुआब्जा विवाद, साँघुरो सडक र विद्युत् व्यवस्थापनलगायत आधारभूत समस्या मुख्य बाधक बनेका थिए । कर्णाली र मध्यपहाडी राजमार्गमा सडकका घुम्ती फराकिलो बनाएपछि अन्वेषण स्थलमा उपकरण ल्याउन सहज भइसकेको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । चिनियाँ प्राविधिक टोली मेसिन ल्याउन गइसकेकाले अबको एक महिनामा ड्रिलिङ मेसिन अन्वेषण क्षेत्रमा पुग्ने उनले बताए ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न ०७२ चैतमा चीन र नेपालबीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । ०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । उक्त क्षेत्रको २० हजार २० वर्गमिटरमा गरिएको सर्भेका आधारमा अब ड्रिलिङको काम गरिने विभागले जनाएको छ ।
चिनियाँ टोलीले इन्धन अन्वेषणका लागि यस पटक ड्रिलिङ गर्ने सबैभन्दा उपयुक्त स्थानको छनोट गरिसकेको विभागका भूगर्भविद् गणेशनाथ त्रिपाठीले बताए । अघिल्ला चरणको अध्ययनले सकारात्मक सम्भावना देखाएकाले ड्रिलिङको काम अघि सारेको उनको भनाइ छ । ‘विभिन्न चरणमा गरिएका सर्भेका आधारमा अन्तिम चरणको काममा पुग्न सक्षम भएका हौं,’ उनले भने, ‘यस पटक गरिएको ड्रिलिङले पेट्रोलको भण्डारण र गहिराइ मापन हुनेछ ।’
जग्गा प्राप्तिले धेरै बाटो खुलेको र अबको ४ महिनामा ४ किलोमिटर गहिराइमा पुग्ने योजना बनाएको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले बताए । चार महिनाभित्र ग्यास निस्कने आशामा रहेको उनको भनाइ छ । ‘अब ज्वाला बलेको स्थानका ३ ठाउँमा ड्रिलिङको काम सकिन्छ,’ उनले भने, ‘वर्षौंदेखि ग्यास बलेको पादुका, श्रीस्थान र नाभीस्थानमा कम्तीमा ४ किलोमिटर गहिरो ड्रिलिङ गर्ने गरी काम अघि बढाइएको छ ।’

 

अर्थ वाणिज्य

तीन विकास बैंक र एक फाइनान्स कारबाहीमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो ।
राष्ट्र बैंकको कारबाहीमा पर्ने वित्तीय संस्थाहरूमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र रिलायन्स फाइनान्स कम्पनी छन् । तीमध्ये तीनवटा विकास बैंकमा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ भने रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले दर्जन बढी बाणिज्य बैंकहरूलाई पनि
कारबाही गरेको थियो ।

Page 8
खेलकुद

न्युजिल्यान्डसँग पहिलो हार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अर्जुन कुमालले ९० रनको आकर्षक इनिङ्स खेले पनि नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोरेको छ । स्नेहिथ रेड्डीले सानदार शतक बनाएपछि दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय २ रन बनाएको थियो ।
बुफेलो पार्कमा जवाफमा आएको नेपालले ९ विकेट गुमाई २ सय ३८ रनमात्र बनाउन सक्यो । अर्जुनको इनिङ्स यू–१९ विश्वकपमा नेपाली खेलाडीको दोस्रो उच्च स्कोर हो । प्रदीप ऐरीले सन् २०१२ मा नामिबियाविरुद्ध अविजित ९८ र कनिष्क चौंगाईंले २००४ मा पपुवा न्यु गिनीविरुद्ध अविजित ९० रन बनाएका थिए ।
अर्जुनले १ सय ४ बल खेली १२ चौका प्रहार गरे । कप्तान देव खनालले ३४ बल खेली ५ चौका र १ छक्कासहित ३६ रन बनाए । दीपक बोहरा ‘ए’ शून्य, आकाश त्रिपाठी २, उत्तम थापामगर शून्य, गुल्सन झा २, दीपक बोहरा ‘बी’ १५, दीपेश कँडेल शून्य र आकाश चन्द १४ रनमा आउट भए । सुवास भण्डारी र तिलक भण्डारीले दसौं विकेटमा ३७ रनको अविजित साझेदारी गरे ।
सुवास ५२ बल खेली ४ चौका प्रहार गरी ३३ र तिलक १९ बल खेली २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाई अविजित रहे । न्युजिल्यान्डबाट म्यासन क्लार्कले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चे । कप्तान ओस्कार ज्याकसन र इवाल्ड स्रेउडरले २–२ विकेट लिए ।
यसअघि रेड्डीले न्युजिल्यान्डबाट अविजित १ सय ४७ रन बनाए । इनिङ्सको अन्तिम बलमा पनि छक्का प्रहार गरेका उनले कुल १ सय २५ बल खेलेर ११ चौका र ६ छक्का प्रहार गरे । न्युजिल्यान्डले १० ओभरमा ५३ रन जोडेर सानदार सुरुआत गरेको थियो । ११ औं ओभरमा सुवासले लुक वाटसनलाई १४ रनमा बोल्ड गरे । टोम जोन्सलाई तिलकले ३३ रनमा बोल्ड गरे । उनले ४५ बल खेली ५ चौका प्रहार गरे । ओलिभर तेवाटियालाई दीपेशले शून्यमा आउट गरेपछि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
तर रेड्डी र ज्याक्सनले चौथो विकेटमा १ सय ५७ रनको साझेदारी गरी न्युजिल्यान्डलाई बलियो स्थितिमा उभ्याए । ज्याक्सनले ८१ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाए । गुल्सनले लच्लान स्ट्याक पोल र ज्याक कमिङ्सलाई लगातार बलमा शून्यमा आउट गरे । एलेक्स थोम्सनले १३ रन बनाउँदै रेड्डीसँग आठौं विकेटमा ४९ रनको साझेदारी गरे । नेपालबाट सुवासले ३ विकेट लिए । गुल्सनले १० ओभरमा ६१ रन खर्चेर २ तथा दीपेश, तिलक र आकाशले १–१ विकेट लिए । नेपालविरुद्ध न्युजिल्यान्डले यू–१९ विश्वकपमा पहिलो विजय हात पारेको हो । नेपालले २००६ को प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटको र त्यसको १० वर्षपछि बंगलादेशमा नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजय हात पारेको थियो । नेपालले बुधबार पाकिस्तानसँग खेल्नेछ ।

खेलकुद

आर्मीमाथि पुलिसको प्रहार

- सन्जु पौडेल

(लुम्बिनी)
नेपाल पुलिस क्लबले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि महत्त्वपूर्ण विजय हात पारेको छ । भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा आइतबार पुलिसले आर्मीलाई १३ रनले हराएको हो । पुलिस लगातार तेस्रो खेल जिती दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पनि पहिलो ३ खेल जितेर रन रेटका आधारमा शीर्ष स्थानमा छ ।
प्रतिकूल मौसमका कारण ५० ओभरको खेल ३३ ओभरमा झारिएको खेलमा पुलिस ३१.४ ओभरमा १ सय ४० रनमा अलआउट भएको थियो । जवाफमा आएको आर्मी ३२.२ ओभरमा १ सय २७ रनमा समेटियो । आर्मीको ४ खेलमा यो दोस्रो पराजय हो । पहिलो तीन ब्याटर इमरान शेख, सन्दीप रजाली र सन्तोष कार्की शून्यमा आउट भएपछि आर्मीबाट भीम सार्की र कुशल मल्लले ८९ रनको साझेदारी गरे पनि पुलिसलाई जिताउन सकेनन् । भीमले ७६ बलको सामना गरेका उनले ६ चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । कुशलले ३५ रन बनाए ।
घरेलु मैदानमा दर्शकको ठूलो समर्थन पाए पनि कुशललाई दीपेन्द्रसिंह ऐरीले आउट गरे । ४८ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । घरेलु क्रिकेटको दुई शीर्षस्थ टोलीको खेल हेर्न मैदानमा समर्थकहरूको ठूलो सहभागिता रहेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि खेल हेर्न भैरहवा पुगेका थिए । कप्तान विनोद भण्डारी २५ बल खेलेर १९
रनमा आउट भए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । आर्मीका चार जना खेलाडी रन नै नबनाई आउट भए । विवेक यादव २ रनमा पविलियन फर्किए । पुलिसका सागर ढकाल र ललित राजवंशीले समान ३/३ तथा रासिद खानले २ विकेट लिए । दीपेन्द्रले एक विकेट लिए ।
यसअघि पुलिसका लागि सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले । ८० बल खेलेका उनले ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । आसिफ शेखले १८, रासिद खान र दीपेन्द्रले समान १३/१३ तथा अर्जॅन साउनले १० रन बनाए । अन्य खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । कुशल भुर्तेललाई सोमपाल कामीले पहिलो बलमै आउट गरेका थिए । दिलीप नाथ रन नै नबनाई आउट भए । आर्मीका सोमपाल कामीले सर्वाधिक चार विकेट लिए । शहाब आलम र विवेक यादवले समान २/२ तथा कुशल मल्लले एक विकेट हात पारे । पुलिसका सागर ढकाल प्लेयर अफ द म्याच भए ।

खेलकुद

कोशी २५ मै अलआउट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको निराशाजनक प्रदर्शनले थप उचाइ लिएको छ । पहिलो पाँचैं खेलमा पराजित भएको कोशी आइतबार अर्को कमजोर प्रदर्शन गरिरहेको टोली गण्डकी प्रदेशविरुद्ध केवल २५ रनमा अलआउट भयो ।
मूलपानी क्रिकेट मैदानमा १ सय ६८ रनको विजय लक्ष्य लिएर आएको कोशी १५.२ ओभरमै धराशायी भयो । प्रधानमन्त्री कपमा यो सबैभन्दा न्यून स्कोर हो । यसअघि नेपाल पुलिस क्लब २०१९ को प्रधानमन्त्री कपको सेमिफाइनलमा कीर्तिपुरमा नेपाल एपीएफ क्लबविरुद्ध ४१ रनमै अलआउट भएको थियो ।
कोशीका कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । कप्तान एवं ओपनर अंकित सुवेदीले सर्वाधिक ८ रन बनाए । कमल खत्री ५, आइस भट्टराई र अभ्यास तिमिल्सिनाले ३–३ तथा सुजन थपलियाले २ रन जोडे । ओपनर सोनु अन्सारीसहित फिर्दोश अन्सारी, समीर कार्की र हेमन्त राई शून्यमा आउट भए । विपिन खत्रीले सानदार अलराउन्ड प्रदर्शन गर्दै गण्डकीलाई पहिलो विजय दिलाए । ओपनिङ बलरका रूपमा आएका विपिनले ६ विकेट लिए । उनले ७ ओभरमा ३ मेडन राख्दै ४ रनमात्र खर्चेका थिए । सन्दीप पराजुलीले ३.२ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ३ र अंकित न्यौपानेले १ विकेट लिए ।
पहिलो तीन खेलमै पराजित गण्डकी यसअघि टस हारेपछि ब्याटिङमा आएको थियो र उसको हालत पनि उस्तै थियो । ७३ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा मुस्कान थापा र विपिन खत्रीले सातौं विकेटमा ७६ रनको साझेदारी गरेका थिए । मुस्कानले ६७ रन बनाए । उनले १ सय २२ बल खेली ७ चौका प्रहार गरे । प्लेयर अफ द म्याच विपिनले ७१ बल खेली ५ चौका र १ छक्कासहित ४१ रन बनाए । कमल परियार १३ रनमा आउट भए । कोशीबाट अभ्यासले ६ विकेट नै लिएका थिए । उनले ९.२ ओभरमा २ मेडन राख्दै २३ रन खर्चे । फिर्दोश, कमल र सोनुले १–१ विकेट लिए ।