You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

आईटीमा आशा, मुलुकको भरोसा

- सजना बराल

(काठमाडौं)
झन्डै आधाभन्दा बढी संख्यामा पसल राख्ने सटरहरू बन्द भएको र प्रायः व्यवसाय मौलाउन नसकेको वर्ष २०८० मा आशावादी हुनुपर्नेमध्ये एक समाचार बन्यो, सूचना प्रविधि अर्थात् आईटी क्षेत्र । गएको
वर्ष नेपालमा आईटी सेवा तथा उत्पादनहरूले उल्लेख्य रोजगारी र आम्दानी गरिरहेको तथ्यांक सार्वजनिक भएयता यो क्षेत्र
हरेक आर्थिक छलफलको हिस्सा बन्ने
गरेको छ ।
नेपाललाई अब कृषि–प्रधान नभएर सूचना प्रविधि–प्रधान देश भनिनुपर्ने विचारसमेत राख्न थालेका छन् । पछिल्लो समय आर्थिक मन्दीको मारले यो क्षेत्रलाई प्रभावित गरेको भए पनि मन्दीबाट निकास पाउन सूचना प्रविधिमै लगानी र नीतिगत सुधार हुनुपर्ने जानकारहरूको धारणा छ ।
छिमेकमा रहेका दुई ठूला आर्थिक शक्ति भारत र चीनको कुल गार्हस्थ्य उत्पादन र निर्यातको प्रमुख हिस्सा ओगटेको आईटीबीपीएम अर्थात् इन्फर्मेसन टेक्नोलोजी एन्ड बिजनेस प्रोसेस म्यानेजमेन्ट
क्षेत्रले नेपालमा देखाएको बढ्दो सम्भावनाले धेरैलाई आशावादी बनाएको छ । दुइटै
देशमा गरेर करोडौं प्राविधिक र अन्य जनशक्तिलाई रोजगारी दिने यो क्षेत्रमा नेपाल पनि कसरी प्रतिस्पर्धात्मक र गुणस्तरीय रूपमै अगाडि बढ्न सक्छ भन्नेमा बहस
सुरु भएका छन् ।
नेपालले विदेशमा सूचना प्रविधि सेवा बेचेर एकै वर्षमा करिब ६७ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको तथ्यांक बाहिरिएयता सूचना प्रविधि क्षेत्रलाई लिएर सबैमा उत्साह जागेको हो । सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गत साउनमा सार्वजनिक गरेको ‘अनलिजिङ आईटी ः एड्भान्सिङ नेपाल्स डिजिटल इकोनमी’ शीर्षकको अध्ययन प्रतिवदेनमा नेपालको सबैभन्दा ठूलो निर्यात सूचना प्रविधि सेवा भएको उल्लेख थियो ।
यही सेरोफेरोमा सरकारले सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखेर आवश्यक नीतिगत एवं अन्य सुधारका पहल गर्ने र सुविधाहरू थप्नेलगायतका प्रतिबद्धता जनाउँदै आएको छ । २०८० असारमा सार्वजनिक भएको नेपाल व्यापार एकीकृत रणनीतिमा सरकारले निर्यात सम्भावना भएका सेवाको सूचीमा सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवालाई दोस्रो नम्बरमा राखेको छ । रणनीतिमा भनिएअनुसार पछिल्ला वर्ष सूचना प्रविधिको विकास, सेवाको एकीकरण, विश्वव्यापीकरण, कानुनी अनिवार्यतालगायत कारण व्यापारिक पूर्वाधार उद्योग फस्टाएको छ ।

स्वदेशी एवं विदेशी कम्पनीको संख्या, कारोबार, आम्दानी र रोजगारी वृद्धिसँगै ब्लकचेन, रिमोट वर्किङ, डिजिटल कन्टेन्ट निर्माण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा बढ्दो माग र अवसरले सूचना प्रविधि क्षेत्रलाई थप आकर्षक बनाउँदै लगेको बुझ्न सकिन्छ । नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिले अमेरिका, जापान, संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाका ग्राहकलाई मुख्य गरी प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ सेवा दिँदै आएको सो अध्ययनले जनाएको थियो । सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान पुगेको थियो ।
अध्ययनको सीमितताका कारण आफूहरूले औपचारिक माध्यमबाट भइरहेको आयात–निर्यातलाई मात्रै गणना गरेको हुनाले उल्लिखित आँकडा वास्तविकताभन्दा अझै कम हुन सक्ने आईआईडीएसको सो अध्ययनमा नेतृत्व गरेकी अमृता शर्मा बताउँछिन् । ‘आउटसोर्सिङ वा निर्यात सेवा मात्रै होइन सूचना प्रविधिको हाम्रो आन्तरिक बजार पनि बढिरहेको छ,’ उनी भन्छिन्, ‘हामीहरूमध्ये धेरैले पर्स बोक्न छोडिसक्यौं, क्यूआर कोडबाट सजिलै भुक्तानी गर्छौं । वित्तीय क्षेत्रमा जस्तै नेपालको कृषि, पर्यटन, जलविद्युत्, स्वास्थ्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणको उत्तिकै सम्भावना छ । ती प्रविधिले छुन बाँकी क्षेत्र हुन् ।’
हावर्ड विश्वविद्यालयको ग्रोथ ल्याबले सार्वजनिक गरेको रिपोर्टअनुसार पनि नेपालले सन् २०२१ मा मात्रै ६० करोड १५ लाख डलरको आईसीटी सेवा निर्यात गरेको थियो । ट्राभल एन्ड टुरिजम, यातायात र बिमा तथा वित्त सेवामध्ये आईसीटी सेवा निर्यातको हिस्सा ७५.३९ प्रतिशत रहेको सो प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, देशहरूको नवप्रवर्तन क्षमता मापन गर्ने विश्व बैंकअन्तर्गतको वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (वाइपो) ले सार्वजनिक गर्ने ग्लोबल इन्नोभेसन इन्डेक्समा सन् २०२३ मा नेपाल तीन स्थान सुधार गरी १०८ मा उक्लिएको छ । १३२ देशमध्ये यसअघिका दुई वर्ष १११ औं स्थानमा रहेको नेपालले सन् २०२३ मा कर्जा सुविधा, कुल पुँजी निर्माण, हाई–टेक आयात, मोबाइल एप निर्माण, आन्तरिक बजारको विविधीकरण लगायतमा सुधार गरेको उल्लेख छ ।
त्यस्तै, विश्व आर्थिक मञ्चको प्रक्षेपणअनुसार आगामी दस वर्षमा करिब ७० प्रतिशत उद्यमहरू सूचना प्रविधि प्रणालीमा जोडिनेछन् । नेपालको आन्तरिक सूचना प्रविधि क्षेत्रमा हाल वित्तीय–प्रविधि (फिनटेक) र चेक क्लियरिङ (कनेक्ट आईपीएस) गरी दुइटामा मात्रै गतिलो किसिमको डिजिटल रूपान्तरण देखिएको र बाँकी सबै क्षेत्र परम्परागत मोडलमै चलिरहेको डिजिटल अर्थतन्त्र र सूचना प्रविधिका विज्ञ विवेक राणा बताउँछन् । ‘भारतमा डिजिटल लेन्डिङ ३.५ ट्रिलियन डलरको क्षेत्र हो तर नेपालमा यो सुरु नै भएको छैन,’ उनले भने, ‘पोर्टफोलियो म्यानेजमेन्टमा हामी जान बाँकी छ भने शिक्षा–प्रविधिमा अलिअलि मात्रै काम भएको छ । क्रसबोर्डर पेमेन्ट सुरुवाती चरणमा छ ।’ अबका दिनमा कस्ता कानुनी व्यवस्था आउँछन्, नियामकले कस्ता निर्देशिका ल्याउँछन् र कत्तिको लचिलो व्यवहार गरिन्छ भन्नेमा लगानीकर्ताहरूले हेरेर बसेको र सोहीअनुसार प्रविधि क्षेत्रमा लगानी आउने/ नआउने तय हुने राणाको विश्लेषण छ ।
अर्काथरी जानकारहरू नेपालको सूचना प्रविधि क्षेत्रमा हाल फिनटेक, साइबर सुरक्षा, कन्टेन्ट क्रिएसन, ई–कमर्स, गेमिङलगायत व्यवसाय पनि मुख्यतया सफल हुँदै गएका धारणा राख्छन् । हार्डवेयर निर्माणभन्दा सफ्टवेयर उत्पादनसँगै सूचना प्रविधिसम्बन्धी सेवा प्रवाह नेपाली बजारको सबल पक्ष रहेको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिका उपाध्यक्ष रञ्जितकुमार पोदारको बुझाइ छ । हार्डवेयरमा भारत र चीनसँग प्रतिस्पर्धा गर्न अलि कठिन हुने उनले बताए । ‘आजभन्दा १०/१५ वर्षअघि एउटा सानो एकाउन्टिङ सफ्टवेयरसमेत विदेशको किनेर चलाउनुपर्थ्यो, अहिले हामी साना युटिलिटी सफ्टवेयरदेखि ठूला संस्थाका विभिन्न जटिल आवश्यकतासमेत पूरा गर्ने इन्टरप्राइज सफ्टवेयरहरू आफैं बनाउन सक्ने भएका छौं,’ पोदारले भने, ‘वडा, गाउँपालिकादेखि महानगरपालिकासँगै साना–ठूला सबै प्रकारका संस्थाहरूले नेपालमै बनेका एप र वेब–बेस्ड सफ्टवेयर प्रयोग गरिरहेका छन् ।’ यस्तोमा अन्य उद्योगलाई सरह सूचना प्रविधि क्षेत्रलाई पनि सरकारले बिजुली, इन्टरनेट कनेक्टिभिटी, बैंकिङ कर्जालगायतमा सहुलियत दिए यसमा थप उल्लेखनीय वृद्धि हुने पोदारको भनाइ छ ।
गोल्छा समूह तथा अमेरिका–नेपाल च्याम्बर अफ कमर्समा नेतृत्वदायी भूमिकामा रहेका सञ्जय गोल्छा निओटेरिकजस्तो नेपालकै चर्चित प्रविधि कम्पनी चलाएको अनुभव सुनाउँदै अहिले नेपालको सूचना प्रविधि क्षेत्रले झन्डै एक लाखलाई रोजगारी प्रदान गरेको र इमानदार प्रयासले आन्तरिक र निर्यातजन्य दुवै बजार सुधारिन सक्ने तर्क गर्छन् । ‘नेपालमा अहिले ठूला भनिएका आईटी कम्पनीहरूले ६ सयदेखि ८ सयसम्मलाई रोजगारी र ५० हजारदेखि ५ लाखसम्म तलब दिइरहेका छन्,’ उनी भन्छन्, ‘आईटी प्रविधि विस्तार र सहज बनाउन आन्तरिक बजार पनि सुदृढ गर्न सके उत्तम हुन्छ, यसमार्फत थप रोजगारी र जनशक्ति उत्पादनमा सहजता ल्याउन सकिन्छ ।’ आन्तरिक बजारका सार्वजनिक सूचना प्रविधि पूर्वाधार अनलाइन फारम भर्नेमा सीमित राख्न नहुने उनको तर्क थियो ।
एपस्टोर र प्लेस्टोर दुवैमा उल्लेख्य डाउनलोड भएका लुँडो, कलब्रेक, ड्राइभिङ लाइसेन्स टेस्टजस्ता चर्चित गेम निर्माण गरेको पोखराको प्रविधि कम्पनी, यार्सा ल्याब्सका संस्थापक एनजे सुवेदी गोल्छाकै तर्कमा सहमति जनाउँदै नेपालले अघिल्लो औद्योगिक क्रान्तिहरूको फाइदा लिनबाट चुकेको भए पनि डिजिटल उद्योगमा अहिले आएको अवसरलाई खेर जान दिन नहुने तर्क राख्छन् । ‘पछिल्लो समय विश्वमा अघि बढेका थुप्रै देश हार्डवेयर/सफ्टवेयर बनाएर वा प्रविधिलाई समाएर माथि उठेका हुन्, विश्वकै अर्थतन्त्र हाल डिजिटल रूपान्तरणको बाटोमा भएको बेला नेपालमा पनि यो क्षेत्रप्रति आशा बढेको हो,’ उनी भन्छन्, ‘उदाहरणका लागि नेपालमा गेमिङ कम्पनीहरूको प्रगतिलाई लिन सकिन्छ, अहिले ६/७ वटा त गेमिङ कम्पनी नै खुलिसके । हामीले मात्रै १४ वटा गेम सार्वजनिक गरिसकेका छौं ।’
एप/प्लेस्टोरहरूमा धेरै डाउनलोड भएका नेपाली एपमध्ये गेमहरू नै अग्रस्थानमा आउने र कैयौं त १० करोडभन्दा बढी डाउनलोड भइसकेको सुवेदी बताउँछन् । उनकै कम्पनीले बनाएको लुँडो र कलब्रेक प्लेस्टोर मात्रै १० करोडभन्दा बढी डाउनलोड भइसकेका छन् । ‘हामीले विकसित देशका लागि भन्दा पनि नेपाल, भारत, पाकिस्तानजस्ता विकासोन्मुख देशलाई ध्यानमा राखेर गेमहरूलाई जतिसक्दो सरल र खेल्न सजिलो हुने गरी विकास गरेका छौं,’ सुवेदी भन्छन्, ‘यसकारण विश्वका गेमिङ कम्पनीसँग प्रतिस्पर्धा गर्न सफल भइरहेका छौं ।’ यार्सा ल्याब्समा हाल ६० जना कर्मचारी रहेको र अन्य गेमिङ कम्पनीले पनि २० देखि ५० जनालाई रोजगारी दिइरहेको उनले जानकारी दिए । गेमिङ एप विकास गर्ने दक्ष जनशक्ति विकासका लागि यार्सा ल्याब्सले हाल काठमाडौं महानगरपालिकासँग मिलेर गेम डेभलप्मेन्टसम्बन्धी तालिम दिइरहेको छ । सबै क्षेत्रलाई आईटीले ‘ड्राइभ’ गरिरहेको र अटोमेसनमा जान खोजिरहेको समयमा प्रविधिको प्रयोग र व्यवसाय झन् बढ्दै जाने निश्चित रहेको सुवेदीको तर्क छ ।
बढ्दो अवसर
वित्तीय तथ्यांक व्यवस्थापनसम्बन्धी सेवा दिने गोक्यो ल्याब्सका सहसंस्थापक अभय पौडेल बिना कुनै उल्लेख्य सरकारी सहयोग यहाँसम्म आइपुगेको आईटी क्षेत्रले अहिले हासिल गरेको उपलब्धि सम्भावनाको सानो हिस्सा मात्रै भएको ठान्छन् । शून्यबाट सुरु भएर ५१५ मिलियन डलर आम्दानी गर्ने स्थितिमा आइपुगेको नेपालको आईटी–इनेबल्ड आउटसोर्सिङ सेवालाई विश्वव्यापी ३ ट्रिलियन डलरको बजारमा खुला अवसर रहेको पौडेल बताउँछन् ।
नेपालका सफ्टवेयर र सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको प्रतिनिधित्व गर्ने नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस् कम्पनिज् (नास–आईटी) का कोषाध्यक्षसमेत रहेका पौडेलले नेपालबाट आईटी सेवा मात्रै निर्यात गर्ने कम्पनी संख्या १ हजार हाराहारी रहेको बताए । ‘सूचना प्रविधिभित्रका आन्तरिक र निर्यात दुवै क्षेत्रलाई सरकारले उचित वित्तीय बजारको पहुँच र प्रवर्द्धनात्मक सहयोग दिन सके तुरुन्तै २ देखि ३ अर्ब डलरको उद्योग सजिलै बन्ने देखिन्छ,’ उनी भन्छन्, ‘अझ यो संस्था बनाउँदा नेपालको आईटी–इनेबल्ड आउटसोर्सिङ सेवालाई १० वर्षमा ५ अर्ब डलर (साढे ६ खर्ब रुपैयाँ) बराबर निर्यात गर्न सक्ने बनाउने उद्देश्य लिएका थियौं ।’
सूचना नेपालले ढिला सुरु गरेको हुनाले भारत वा अन्य ठूला आईटी निर्यात गर्ने देशजत्तिको पूर्वाधार बन्न समय लाग्ने भए पनि प्राविधिक रूपमा नेपाली उद्योग प्रतिस्पर्धी रहेको उनको दाबी थियो । हुन पनि अटोमेसनमा जाने, एआईको प्रयोग बढाउँदै लाने, गेमिङ र डिजिटल कन्टेन्टबाट प्रचार र व्यापार गर्नेसँगै तथ्यांक व्यवस्थापन, चिकित्सा क्षेत्र, वित्तीय प्रविधिसँगै मनोरन्जन, कृषि, उत्पादनलगायतमा बढ्दो होडले नेपालजस्ता सेवा र साधन उत्पादन गर्न सक्ने देशका लागि सम्भावना फराकिलो बनाएको नेपाली उद्यमीहरूको अनुभव छ ।
झन्डै २०० अर्ब अमेरिकी डलर बराबरको रहेको मानिने आर्टिफिसियल इन्टेलिजेन्स, सन् २०३० सम्ममा १५ खर्ब अमेरिकी डलर बराबरको हुने अपेक्षा गरिएको डिजिटल मनोरन्जन बजार, खर्बौं अमेरिकी डलरले बढेको तथ्यांक व्यवस्थापनसँगै द्रुत गतिमा डिजिटाइज हुँदै गएको विश्वले दिनानुदिन अवसर थपेको समयमा नेपालले त्यसलाई गुमाउन नहुने विचार नेपाली प्रविधि विज्ञहरूको छ । उद्यमी गोल्छा लोडसेडिङ बन्द हुनु, इन्टरनेट कनेक्टिभिटी बढ्नु, कलेज र विश्वविद्यालयको शैक्षिक सुधारसँगै विदेशमा रहेका नेपालीमार्फत बिजनेस प्राप्तसँगै रोजगारी र अर्थोपार्जनजस्ता पक्षले नेपालको आईटी क्षेत्र सशक्त हुँदै गएको टिप्पणी गर्छन् ।
चुनौती
ग्लोबल इन्नोभेसन इन्डेक्सको २०२३ को रिपोर्टमा सञ्चार तथा सूचना प्रविधि आयात, महसुल दर, सफ्टवेयरमा लगानी, शिक्षक–विद्यार्थी अनुपात, ग्लोबल ब्रान्ड भ्यालु, रिसर्च एन्ड डेभेलप्मेन्टमा लगानी जस्ता क्षेत्र नेपालको नवप्रवर्तन विधाका कमजोर पक्ष रहेको औंल्याइएको छ । यसरी हेर्दा सम्भावनाको क्षेत्र देखिए पनि नेपालमा आईटीका चुनौती प्रशस्तै छन् । आफ्नो सुरुवाती क्रममा नै रहेको यो बजारमा नीतिगत, व्यावहारिक र व्यावसायिक तीनै किसिमका समस्याहरू रहेको र यस क्षेत्रका सम्भावनालाई मूर्तरूप दिन समस्याहरूलाई क्रमशः सम्बोधन गर्दै जान जरुरी भइसकेको यस क्षेत्रका जानकारहरूको एक स्वर छ ।
नास–आईटीका कोषाध्यक्ष पौडेल वैदेशिक मुद्रा आर्जन गर्ने क्षमता भएका नेपालका पर्यटन, जलविद्युत् जस्ता क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्ने, सहुलियत दिने, कर्जा उपलब्ध गराउने गरेको भए पनि तीभन्दा बढी मुद्रा आर्जनको सम्भावना भएको आईटी क्षेत्रलाई बराबर सहयोग नगरिएको धारणा राख्छन् । नीति तथा कार्यक्रम, बजेट र निर्देशिकाहरूमा घोषणा गरिएका कार्यक्रम लागू नभएकोमा उनले गुनासो गरे । ‘विदेशका क्लाइन्टसँग काम गर्नुपर्ने भएकाले हामीले विदेशमा सब्सिडियरी कम्पनी खोल्न माग गरेका थियौं, गत वर्षको बजेट र मौद्रिक नीतिमा विदेशमा शाखा खोल्न पाउने घोषणा गरियो तर त्यो अझै लागू हुन सकेको छैन,’ उनले भने, ‘कर कानुन स्थिर छैन । यसले लगानीकर्तालाई हतोत्साहित बनाइरहेको छ ।’
यस्तै, उद्यमी सञ्जय गोल्छा पनि सरकारी तहबाट सहजीकरण वा प्रवर्द्धनभन्दा बढी नियामकीय अवरोध हुने र चलेको चिज बिगारिदिने परिपाटी रहेको धारणा राख्छन् । कोटिभिटी जस्ता विषयमा ठोस अनुसन्धानबिना नै मुद्दा लगाउने र तर्साउने नियत देखिएको भन्दै उद्यमीहरू नेपालको नियामक निकायहरू नियन्त्रणमुखी रहेकाले समस्या थपिएको गुनासो गर्छन् । जनशक्तिको व्यवस्थापन, विशेषगरी सानो स्केलमा काम गर्ने कम्पनीहरूका लागि टाउको दुखाइ बन्ने गरेको छ । आईआईडीएसकै प्रतिवेदनले पनि आईटी क्षेत्रमा काम गर्ने झन्डै ८३ प्रतिशत २०–२९ वर्ष उमेर समूहका भएको र उनीहरूमा भविष्यमा के हुन्छ भन्ने स्पष्टता नभएर ढुक्कले लाग्न नसकेको देखाएको थियो । नेपालमा तालिम वा बलियो सिकाइ अवसरको अभाव रहेको अन्य विषय अध्ययन गरेकालाई यो क्षेत्रसँग जोड्नमा भएको ढिलाइले पनि जनशक्तिको अभाव गराएको प्रतिवेदनको आशय थियो । अधिकांश भर्खरै कलेज सकाएका वा आफ्नो व्यावसायिक जीवनको अघिल्लो चरणमा रहेका आईटी जनशक्ति उच्च शिक्षा वा अझै उत्तम अवसरको खोजीमा दिन प्रतिदिन विदेश भासिँदै गएपछि समस्या अझै चर्किएको एक उद्यमीले गुनासो गरे । ‘समय लगाएर पारंगत बनाएको जनशक्ति भिसा लागेका भोलिपल्टै उड्न तयार भएर बसेको हुन्छ, कसरी ढुक्क हुनु ?’ उनको प्रश्न थियो ।
कोभिड महामारी र त्यसपछिको अवधिमा नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य सुधार देखिए पनि पछिल्लो विश्वव्यापी आर्थिक मन्दीले नेपालको डिजिटल अर्थतन्त्र प्रभावित पारेको विज्ञ विवेक राणाको विश्लेषण छ । विदेशका कम्पनीहरूले पर्याप्त काम नदिँदा आउटसोर्सिङ सेवा सञ्चालन गर्ने कम्पनीहरूले कर्मचारी कटौती गरेको उनले बताए । स्वतन्त्र रूपमा काम गर्ने फ्रिलान्सरहरूले पनि साइड हसल (अतिरिक्त काम) का लागि पर्याप्त अवसर नपाएको उनले बताए । भाषा अनुवाद, ट्रान्सक्राइब, सम्पादन, डेटा इन्ट्री, अनलाइन सर्भे, एफिलिएट मार्केटिङ, एकाउन्टिङ, सोसल मिडिया म्यानेजमेन्टजस्ता फ्रिलान्स काम दिने अन्तर्राष्ट्रिय संस्थाहरूले आजभोलि ‘काम नभएको’ भन्दै नोटिस निकालिरहेका छन् । ‘कोरोना महामारीको समयमा आउटसोर्सिङ सेवा र समग्र गिग इकोनमी फस्टाएको थियो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमा अर्थतन्त्र खस्किएपछि हाम्रो आईटी सेवा निर्यात घटेको छ । हामीले क्षमताअनुरूप काम गर्न सकेका छैनौं किनभने काम नै आइरहेको छैन ।’ यस्तोमा आईटीको आन्तरिक बजार सुधार गरी अघि बढ्ने अवसर रहेको र त्यसका लागि सरकारले आईटी क्षेत्रमा खर्च बढाउनुपर्ने उनले बताए ।
प्रविधि पत्रकार मञ्चले यसै साता आयोजना गरेको एक कार्यक्रममा लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले वैशाख दोस्रो साता हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा दूरसञ्चार, विज्ञान प्रविधि स्टार्टअप क्षेत्रमा स्रोत जुटाउन विशेष पहल गरिने बताएका थिए । यी क्षेत्रमा उच्च प्राथमिकतासहित लगानी आह्वान गरिने र आईटी क्षेत्रले नै आर्थिक माहोल सुधार्न प्रमुख भूमिका खेल्न सक्ने भट्टको आशय थियो । यति मात्र होइन, अन्तर्राष्ट्रिय दातृ निकाय एवं वित्तीय संस्थाहरूले समेत नेपालमा डिजिटल अर्थतन्त्र विकासका लागि सूचना प्रविधि क्षेत्रका सरोकार सरकारले सुन्नुपर्ने सुझाव दिइरहेका छन् । दुई हप्ताअघि मात्रै आफ्नो अर्धवार्षिक प्रतिवेदन ‘नेपाल विकास अपडेट’ सार्वजनिक गर्ने क्रममा नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले अर्थतन्त्र सुधारमा नेपालले चाल्नुपर्ने पहिलो कदम भनेकै सूचना प्रविधि क्षेत्रका कुरा सुन्नुपर्ने धारणा राखेका थिए । उनका अनुसार विश्व बैंक आफैंले पनि स्वेदशी र नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय आईटी कम्पनीका प्रमुखसँग नियमित छलफल अघि बढाएको छ ।
‘डिजिटल उद्यमशीलताबारे नेपालमा पर्याप्त चर्चा भएको छैन, त्यसलाई प्रवर्द्धन गर्ने गरी इकोसिस्टम विकास गर्नुपर्छ,’ जर्भोसको भनाइ थियो, ‘युवाहरूले सञ्चालन गरेका फ्युजमेसिन, इन्सेसेन्ट रेन, ई–सेवाजस्ता कम्पनी नेपालमा छन् । नेपालको अर्थतन्त्र विस्तार गर्ने उनीहरूले हो । यस्ता कम्पनीहरूलाई नेपाल आउन र व्यवसाय गर्न उचित वातावरण बनाइदिनुपर्छ ।’ अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी), युरोपेली संघ, बेलायती विकास नियोगलगायत ठूला संस्थाका कार्यक्रममा बाक्लिएको नेपालको आईटी क्षेत्रबारेको छलफलले पनि नेपालको सूचना प्रविधि प्रगति दाताहरूको नजरमा पनि परेको अन्दाज गर्न सकिन्छ ।

मुख्य पृष्ठ

माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

- कान्तिपुर संवाददाता

(काठमाडौं)
काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सार्वजनिक स्थानमा सरकारले लगाएको निषेधाज्ञा हटाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा पाँच महिनादेखि लगाएको निषेधाज्ञा हटाउने निर्णय लिएको हो ।
मन्त्री लामिछानेको निर्देशनपछि शुक्रबार बसेको जिल्ला सुरक्षा समिति बैठकले त्यस क्षेत्रका शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै निषेधाज्ञा हटाउन सिफारिस गरेको थियो । शुक्रबारै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउने निर्णय लिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले स्थानीय प्रशासन ऐन, २०२८ को दफा–६ को उपदफा (३) (क) बमोजिम उक्त क्षेत्रमा लगाइएको निषेधाज्ञा शनिबारदेखि नरहने बताए ।
उनका अनुसार काठमाडौंकै राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास, प्रधानन्यायाधीशको निवास क्षेत्र र ललितपुरको हरिहर भवन क्षेत्रमा लगाइएको निषेधाज्ञा भने हटाइएको छैन ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले नयाँ वर्षसँगै माइतीघर–बानेश्वर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको भन्दै शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको सम्मान गरिएको बताएका छन् । ‘यो लोकतन्त्रको सौन्दर्य हो, तर आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन,’ उनले भनेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले घोषणा गरेको कार्यक्रमकै दिन मंसिर ७ मा एमाले निकट युवा संघले पनि माइतीघरमा प्रदर्शन गर्ने भएपछि मुठभेडको सम्भावना हुने भन्दै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले निषेधाज्ञा लगाएका थिए ।
माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाएपछि अन्यत्र केन्द्रित भएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न सरकारले एकपछि अर्को क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । ललितपुरको हरिहर भवन र बालुवाटार क्षेत्रमा पुस ४ मा निषेधाज्ञा जारी भएको थियो ।
लामिछानेले आफू गृहमन्त्री भएपछि काठमाडौंमा प्रदर्शनका क्रममा भएको क्षतिको विवरण संकलन भइरहेको र त्यसको बिल सम्बन्धित पक्षले तिर्नुपर्ने निर्णय गरेका छन् । ‘शान्तिपूर्ण विरोध र आन्दोलन गर्ने नागरिकको अधिकार हो । तर आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिको तोडफोड गर्न मिल्दैन । त्यस्तो भएको खण्डमा सम्बन्धित पक्षले त्यसको पुनःभरण गर्नुपर्छ,’ उनले भनेका छन् ।

‘त्यस्तो क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र असुली गर्ने निर्णय भएको छ । मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ, बिल चाँडै पठाइनेछ,’ उनले भनेका छन् । सरोकारवालाले गृहमन्त्रीको यो निर्णयलाई सकारात्मक भन्दै नागरिकको अधिकारलाई संकुचित नगर्न सजग गराएका छन् । संविधानविद् भीमार्जुन आचार्यले गृहमन्त्रीले लिएको निर्णयलाई सकारात्मक प्रयास भएको टिप्पणी गरेका छन् । ‘त्यो उचित निर्णय हो,’ उनको भनाइ छ । सामाजिक सञ्जालमा कतिपय टिप्पणीकर्ताले आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको फोहोरसमेत उनीहरूलाई नै उठाउन लगाउनुपर्ने सुझाव दिएका छन् ।

मुख्य पृष्ठ

प्रश्न छल्न संसद् अधिवेशन अन्त्यको सिफारिस

- गंगा बीसी

(काठमाडौं)
सरकारले सहकारी ठगीलगायत विषयमा उठेका प्रश्नहरूको समाधान नगरी संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री एवं रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसद् अवरुद्ध गरिरहेका बेला संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान बालुवाटारमा संसद् अधिवेशन अन्त्य गर्नेबारे सहमति भएको थियो । संसद्को अधिवेशन अन्त्य भएपछि आवश्यक विधेयक ल्याएर ‘सरकारका केही महत्त्वपूर्ण काम अघि बढाउने’ समझदारी भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्ने सिफारिस गरेको छ । ‘२०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो,’ सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । अब बजेट अधिवेशन कम्तीमा १५ दिनपछि मात्र आह्वान हुने भएको छ । सरकारले संसद् अधिवेशन नभएको यही १५ दिनमा अध्यादेश ल्याउने तयारी गरेको छ ।
सरकारले बजेटको तयारी र लगानी
सम्मेलनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको जनाएको छ ।

कांग्रेसले संसद् अवरुद्ध जारी राखेकाले संसद्बाट विधेयक पारित हुने सम्भावना एकदम कम भएको कारण देखाउँदै बजेटको तयारीमा लागेको जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले भने संसद् अधिवेशन अन्त्यको सिफारिसप्रति आपत्ति जनाएको छ । प्रतिपक्षको प्रश्नबाट भागेको आरोप लगाएको छ । बजेट अधिवेशनका लागि पर्याप्त समय भए पनि सरकारले सहकारी ठगी प्रकरण र अरू कमजोरीबारे संसद्मा उठ्ने प्रश्नको ढाकछोप गर्न संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरी जवाफदेहिताबाट भागेको आरोप लगाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हजारौं सर्वसाधारणले दुःख गरेर जम्मा गरेको रकम हिनामिना गरेका सहकारी सञ्चालकमाथि छानबिन गर्नुपर्ने अहम् दायित्वबाट भागेर संसद् अधिवेशन छलेको बताए । ‘सामान्य नागरिकले दुःख गरेर जम्मा गरेको हिनामिना गर्नु गम्भीर विषय हो । कांग्रेसले यसबारे छानबिन गर्न संसदीय छानबिन हुनुपर्छ भन्ने माग गरेको हो,’ उनले कान्तिपुरसँग भने, ‘संसद्को अधिवेशन अन्त्य गर्नु सहकारी ठगीलगायत विषयमा उठेका गम्भीर प्रश्नहरूबाट सरकार भाग्नु हो ।’ उनले सरकार संसद्बाट भागे पनि बजेट अधिवेशनमा ती प्रश्नहरूको सामना गर्नुपर्ने बताए । ‘संसद्मा उठेको प्रश्नहरू आगामी अधिवेशनमा स्वतः उठ्नेछन्,’ उनले भने, ‘कांग्रेसले उठाएका मुद्दाको सरकारले सम्बोधन गर्नबाट भाग्न पाउँदैन ।’
सरकारले संसद् स्थगित गरी अध्यादेशबाट सरकार चलाउन खोजेको बताए । ‘निजामती, शिक्षालगायत विधेयक छलफलमै रहेका बेला संसद् स्थगित गरी अध्यादेशबाट सरकार चलाउन खोज्नु आपत्तिजनक छ,’ उनको भनाइ छ । सरकारका प्रवक्ता शर्माले बजेट, लगानी सम्मेलनमा लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको बताइन् । ‘सरकारको मुख्य प्राथमिकतामा जनमुखी बजेट र वैदेशिक लगानी भित्र्याउन सम्मेलन गर्नुपर्नेमा छ,’ उनले भनिन्, ‘यी कार्यका लागि समय चाहिएकाले संसद् अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो ।’ उनले संसद्मा उठेको प्रश्नको जवाफ दिन सरकार तयार रहेको उल्लेख गर्दै संसद् अधिवेशन नचलेको अवस्थामा अति आवश्यक अध्यादेश ल्याउन सकिने संवैधानिक प्रावधान भएको बताइन् । ‘संसद् नचलेको अवस्थामा आवश्यक अध्यादेश ल्याउन सकिन्छ,’ उनले भनिन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्नुपर्ने मागलाई सम्बोधन गर्ने गरी छलफल गर्न तयार रहेको उनको भनाइ छ । ‘सत्तामा रहेका दलहरू कांग्रेसले उठाएको विषयमा छलफल गरी समाधान निकाल्न तयार छन्,’ उनले भनिन्, ‘संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन संसद् नै सुचारु हुनुपर्थ्यो नि । कांग्रेसले संसद् निरन्तर अवरुद्ध गरिरहेको छ ।’

Page 2
म्यागेजिन

'मलाई नेपाली सहनशील र धैर्यवान् लाग्छन्’

- कान्तिपुर संवाददाता


नुमन ओज्कान
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल–निर्देशक

नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सदस्य बनेको थियो । त्यसको झन्डै तीन दशकपछि सन् १९९४ मा नेपालमा आईएलओको कार्यालय खुल्यो । त्यसयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम क्षेत्रका मुद्दामा नेपाल सरकारसँग यसले सहकार्य गर्दै आइरहेको छ । अहिले आईएलओ नेपाल–निर्देशकमा टर्कीका नुमन ओज्कान कार्यरत छन् । यसअघि उनी आईएलओ टर्की–निर्देशकका रूपमा कार्यरत थिए । ओज्कानसँग सामाजिक नीति, सामाजिक संवाद, श्रम अधिकारको क्षेत्रको कार्यक्रम कार्यान्वयन र नीति पैरवी गरेको अनुभव छ । अन्तर्राष्ट्रिय श्रम क्षेत्रमा काम गरिसकेका आईएलओ नेपाल–निर्देशक ओज्कानसँग नेपाल, यहाँको परिवेश, भेषभूषा, संस्कृति, मौसम, भाषा, गीत–संगीतलगायत विविध विषयमा कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश ः

तपाईं पहिलो पटक नेपाल कहिले आउनुभयो र यसको भूगोलबारे तपार्इंको धारणा के छ ?
म पहिलो पटक सन् २०२३ को अप्रिल १ मा नेपाल आएको हुँ । त्यो दिन मेरो जन्मदिन पनि हो । उक्त विशेष दिनमा नेपाल आएर मैले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेको थिएँ । यो मेरा लागि नयाँ वर्ष र नयाँ साहसिक कार्यको सुरुवात थियो । कुनै कारणले म नेपाल आएजस्तो लाग्छ । जन्मदिनमा म यहाँ आएको संयोग मात्र नहोस् । म सधैं नेपालमा व्याप्त आध्यात्मिकताबाट आकर्षित भएको छु । र, यहाँ आउनुले मेरो भित्री हेराइ र जीवनको यात्रामा मद्दत गर्नेछ भन्ने विश्वास गर्छु । जब पश्चिमा मुलुकहरूबाट नेपाल आउनुहुन्छ, हिमालयसँगै उड्नुहुन्छ । हवाईजहाजले एउटा उचाइ पार गर्दा अग्लो हिमालले पहिलो हेराइमै मोहित बनाउँछ । हिमालहरूबाहेक देशभरि यात्रा गर्दा तपाईंले यहाँको भूगोल छिट्टै परिवर्तन भएको देख्नुहुन्छ । पहाड, नदी, ताल, जंगल, समतल भूमिलगायत विभिन्न दृश्य यहाँ देख्न पाइन्छ । जमेका ताल र हिउँहरूपछि केही सय किलोमिटरकै दूरीमा गर्मी क्षेत्रका घना जंगलमा पुगिन्छ । त्यो अचम्मको छ । हिमाल र समुद्रले मलाई सधैं मोहित बनाएको छ । हिमालहरू सामान्य रूपमै अचम्मित तुल्याउने खालका नै हुन्छन् । हरेक अवसरमा जहिले र जहाँ पनि जब म सेता हिमालको दृश्य देख्छु, म आफैंलाई मद्दत गर्न सक्दिनँ । तर केही मिनेटका लागि हिमाललाई हेरिरहन्छु । त्यसरी नै म दिनभरि नै हिमाललाई हेरिरहन सक्छु ।

नेपालमा काम गर्दा तपार्इंले धेरै मानिससँग भेटवार्ता गर्नुभयो । नेपालीहरू कस्ता पाउनुभयो त ?
नेपालीहरू धेरै दयालु, सजिलैसँग सम्पर्क र कुराकानी गर्ने स्वभावका छन् । यदि तपार्इंलाई भाषाबारे जानकारी छैन भने पनि सजिलै मुस्कानसँग जोडिन सक्नुहुन्छ । नेपालीहरू अति सहयोगी, भेटवार्ता गर्नलाई सहज र संवाद गर्न सहज छन् । मलाई पनि नेपालीहरू शान्त र खुसी लाग्छन् । रिसाउने र कर्कश स्वर भएका मानिसहरू यहाँ भेट्न धेरै दुर्लभ छ । यसले मलाई विशेष गरी सडक यात्राका दौरान ट्राफिकमा आकर्षित गर्छ, जहाँ मानिसहरू सहनशील र धैर्यवान् देखिन्छन् । म ट्राफिकमा धेरै द्वन्द्व हुने अवस्थाहरू देख्छु । र, भन्छु– अब उनीहरू लड्न जाँदैछन् । तर उनीहरू
सामान्य रूपमा एकअर्कालाई छाड्छन् र आ–आफ्नो बाटो लाग्छन् ।

नेपालको मौसमबारे तपाईंको धारणा के छ ?
मलाई यहाँको मौसम मन पर्छ । यहाँ मौसम प्रायः सामान्य रहन्छ । धेरै तातो तथा चिसो हुँदैन । मलाई मनसुनको मौसम पनि मन पर्छ । विशेष गरी जब वर्षापछि घाम लाग्छ र त्यस अवस्थामा सफा हावा पाउन सक्नुहुन्छ । हरेक सिजन राम्रा हुन्छन् र यसका आ–आफ्नै विशेषता हुन्छन् । मलाई सामान्यतया जाडोयाम मन पर्दैन । तर काठमाडौंबाट समेत देखिने सफा आकाश र हिमालका दृश्यले मनलाई रमाइलो बनाउँछ । मलाई अप्ठ्यारो लाग्ने कुरा भनेको घरमा तताउने प्रणाली र उचित इन्सुलेसनको अभाव हो । जसले जाडोमा विशेष गरी रातमा चिसो महसुस गराउँछ । मेरो गृहनगर (टर्की) मा जाडोका रातहरू २० डिग्री सेल्सियससम्म चिसो हुन सक्छन् । तर घरहरू न्याना हुन्छन् ।

नेपाली खानाको स्वाद कत्तिको लिनुभएको छ र तपाईंलाई मन पर्ने नेपाली खाना ?
नेपाली खानाले आफ्नो संस्कृति र विविधतालाई झल्काउँछन् । विभिन्न प्रकारका व्यञ्जनहरू यहाँको बहुसांस्कृतिक सम्पदा, विविध भूभाग र घरेलु सामग्रीबाट प्रेरित छन् । यी सामग्रीले खानालाई मीठो, स्वादिलो र सुगन्धको मिश्रणका रूपमा प्रस्तुत गर्छन् । साँच्चै भन्नुपर्दा धेरैजसो नेपाली खाना मेरा लागि धेरै मसलेदार हुन्छन् । जब म पहिलो पटक नेपाल आएको थिएँ, खानाका कारण स्वास्थ्य केही गडबड भएको थियो । त्यसकारण स्वास्थ्यका हिसाबमा म सुरक्षित पक्षमा रहन रुचाउँछु र धेरै मसला प्रयोग गरेको वा धेरै सामग्री समावेश नगरिएका व्यञ्जनहरू रोज्छु । त्यस कारणले गर्दा मलाई
दाल–भात र शाकाहारी मःम उपयुक्त लाग्छ ।
नेपाली चालचलनप्रति तपार्इंको धारणा के छ ?
मौलिक चालचलनमा नेपाल निकै नै धनी छ । नेपालीहरू जताततै छन् । हरेक मानिसहरू अरूको दैनिकीमा पनि गहिरो रूपमा सम्मिलित हुन्छन् । मलाई नेपालीको सबैभन्दा मन पर्ने कुरा राम्रो मुस्कान र हातको इसाराका साथ ‘नमस्ते’ गर्ने चलन पनि हो । सचेत रूपमा उक्त कुराको अर्थ थाहा भएर यदि तपाईंले हृदयबाटै भन्नुभयो भने त्यो महत्त्वपूर्ण छ । यसको अर्थ ‘म तपाईंभित्रकै भगवान्लाई अभिवादन गर्छु’ भन्नु हो । तपाईंले देख्न सक्नु हुन्छ, त्यो कति शक्तिशाली छ भन्ने र कसरी यसले जनतालाई जोड्छ भन्ने कुरा ।

तपाईंले नेपाली चाडपर्व कत्तिको मनाउनुभएको छ ? तपाईंलाई सबैभन्दा बढी मन पर्ने यहाँका चाडपर्व ?
नेपालमा धेरै चाडपर्व छन् । यो निकै अचम्मको कुरा पनि हो । नेपालमा हरेक दिन कुनै न कुनै चाडपर्व मनाइन्छ । धेरै जातीय समूह र यहाँका विभिन्न संस्कृतिले गर्दा नेपालमा यति धेरै चाडपर्व मनाइएका हुन् । नेपालमा मनाइने हरेक चाडपर्वका फरक अर्थ, पृष्ठभूमि र अनुष्ठान छन् । म चाडपर्वका बारेमा पढ्छु र त्यसका वास्तविक अर्थ बुझेर मनाउने प्रयास गर्छु । म विदेशी भएर नभई स्थानीयसँग मिलेर नेपालका चाडपर्व मनाउने प्रयास गर्छु । मलाई सबैभन्दा मन परेको रङहरूको पर्व होली हो । यो खराबमाथि असलको विजयको उत्सव हो भन्ने लाग्छ । संसारमा यति धेरै खराबी हुँदाहुँदै पनि यसले अन्ततः असल हुने सन्देश दिन्छ । होलीले जाडोको अन्त्य र गर्मीको सुरुवातलाई पनि जनाउँछ । र, यी भन्दा बाहिर यो धेरै रमाइलो पर्व हो । वसन्तको आगमनलाई मनाउन मानिसहरू एकअर्कामा विभिन्न रङ छर्केर मनाउँछन् । रङहरू जीवनका प्रतीक हुन् । र, रङले हाम्रो इच्छा र उत्सवहरूलाई जीवन दिन्छ । होलीबाहेक
यहाँको गाईजात्रा पनि मन पर्छ । आफन्तको मृत्युको सम्झनामा मनाइने गाईजात्रा पर्व र इन्द्रजात्रा मलाई धेरै रमाइलो लाग्छ । यी पर्व पनि मैले रमाइलो गरी मनाउने गरेको छु ।

तपाईं नेपाली भाषा कत्तिको बोल्न सक्नुहुन्छ ?
दैनिक रूपमा कुराकानी गर्न सक्षम हुनका लागि म नेपाली भाषा सिक्ने प्रयास गर्दैछु । म आफ्नो वरपरका मानिसहरूसँग केही आधारभूत नेपाली कुरा बोल्ने प्रयास गर्छु । यो स्थानीय जनताप्रति सम्मान देखाउने कुरा पनि हो । साथै, मेरो सार्वजनिक भाषणहरूमा म केही नेपाली वाक्यबाट सुरु गर्न चाहन्छु । यसले मानिसहरूसँग जोडिन मद्दत गर्छ । मलाई थाहा छ, नेपालमा १ सय २० भन्दा बढी भाषिका बोलिन्छ । म कम्तीमा मानक नेपाली भाषा बोल्न प्रयास गर्छु ।

नेपाली गीत–संगीत सुन्नुहुन्छ ? तपाईंलाई मन पर्ने कुनै खास गीत ?
म नेपाली गीत–संगीत विभिन्न अवसर, कार्यक्रम र कन्सर्टमा सहभागी भएका बेला सुन्छु । म कहिलेकाहीँ गाडीमा नेपाली गीत बजाउन रेडियो च्यानल पनि खोल्छु । यद्यपि, म कुनै खास गीत वा गायकसँग परिचित भने छैन । मलाई नेपालको राष्ट्रिय गानको धुन एकदमै मन पर्छ । सरकारी बैठक/सेमिनारहरूमा जानुपर्ने भएकाले नेपालको राष्ट्रिय गान बारम्बार सुन्छु । मलाई लाग्छ, मैले गीतका शब्दहरू कण्ठ गर्न पनि थालेको छु । मैले अंग्रेजीमा राष्ट्रिय गानको अर्थ पनि अध्ययन गरें । जसमा नेपालको सार्वभौमसत्ता, एकता, साहस, गौरव, प्राकृतिक सौन्दर्य, प्रगति, शान्ति, सांस्कृतिक र संस्कृतिका साथै जैविक विविधता र सम्मानको प्रशंसा गरेको पनि बुझें ।

तपाईं नेपाली साहित्यबारे कत्तिको जानकार हुनुहुन्छ ? तपाईंलाई मन पर्ने कुनै साहित्यिक कृति ?
साँच्चै भन्नुपर्दा म नेपाली साहित्यसँग परिचित छैन । त्यसमा पनि खासगरी उपन्यास, कविता र कथाबारे त म जानकार नै छैन भन्दा पनि हुन्छ । तैपनि, नेपाली वा विदेशीले लेखेका नेपाल, यसको इतिहास, संस्कृति, राजनीति आदिबारे पढ्न भने मन लाग्छ । पछिल्लो समय सुजीव शाक्यको पुस्तक ‘अनलिसिङ द वज्र’ पढिरहेको छु । नेपालको भूत, वर्तमान र भविष्यलाई राजनीतिक अर्थतन्त्र र भूराजनीतिको सन्दर्भमा बुझ्न यो एउटा उत्कृष्ट पुस्तक हो भन्ने मलाई लाग्छ ।

तपार्इंले नेपाली चलचित्र पनि हेर्नुभएको छ ?
मैले नेपाली चलचित्र हेरेको छैन । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्नका लागि थिएटर र सिंगो उद्योगले पहल गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यो गर्ने एउटा तरिका भनेको उचित डबिङ वा सबटाइटलहरूका साथ विभिन्न प्लेटफर्महरूमा पुग्नु हो ।

तपाईंले नेपालमा कति ठाउँको भ्रमण गर्नुभएको छ ? तपाईंलाई मन परेको गन्तव्यचाहिँ
कुन हो ?
काठमाडौं उपत्यका वरपरबाहेक इलाम, झापा, धनगढी, पोखरा गएको छु । मलाई विशेष गरी इलाम मन पर्‍यो । किनभने, यो मेरो देशको उत्तरी कालासागर क्षेत्रजस्तै छ । त्यहाँको भूबनोट एकदम मिल्दोजुल्दो छ, सबै–हरिया उच्च पहाडहरू छन् । इलाममा जस्तै त्यहाँ पनि धेरै चिया बगान छन् । अहिलेसम्म काठमाडौं उपत्यकाबाहिर मेरा लागि मन पर्ने ठाउँ इलाम हो । तर, मैले नेपालका धेरै भूभाग अझै हेर्न बाँकी छ ।

नेपाल कला र संस्कृतिमा धनी छ भन्ने तपाईंलाई थाहा नै छ । नेपालको कला र संस्कृतिप्रति यहाँको धारणा ?
मैले नेपालका बारेमा पढेको पहिलो पुस्तक ‘कल्चरल सक’ थियो । नेपालको संस्कृति यति धेरै धनी र विविधतापूर्ण छ कि यसलाई बुझ्न एक वर्षभन्दा बढी समय लाग्छ । संस्कृतिलाई प्रभाव पार्ने धेरै आयाम छन् । सयौं जनजाति, जाति र भाषा, धर्मका आयाम र त्यसका विभिन्न व्याख्या र अभ्यासहरू छन् । साथै भूगोल (तराई, पहाड र हिमाल) द्वारा निर्धारण गरिएका आयाम पनि छन् । यी सबै संयोजन गर्नुहुन्छ भने यहाँ साँच्चै जटिल सांस्कृतिक मिश्रण देखिन्छ । म अझै पनि हरेक दिन नयाँ नयाँ कुराहरू थाहा पाउँदैछु । हरेक पटक नयाँ ठाउँमा जान्छु । र, त्यो ठाउँ प्याजजस्तै लाग्छ । जसरी तपाईंले प्याजको एउटा तह खोल्नुहुन्छ, अर्को तह त्यसको मुनि आउँछ । मलाई थाहा छैन, म कहिले मुख्य स्थानमा पुग्छु । तर एउटा कुरा प्रस्ट छ कि संस्कृति र धर्मसँगै त्यसबाट निस्कने विचार र संस्कार नेपाली समाजका केन्द्रबिन्दु हुन् ।

 

Page 3
समाचार

त्रिवि रजिस्ट्रारमा रिजाल र रेक्टरमा केसी नियुक्त

- कान्तिपुर संवाददाता

(काठमाडौं)
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले शुक्रबार त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टर (शिक्षाध्यक्ष) मा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् ।
उपकुलपतिको सिफारिसका आधारमा उनीहरू नियुक्त भएका हुन् । रिजाल र केसीको नाम नियुक्तिका लागि उपकुलपति केशरजंग बरालले चैत १५ मा सिफारिस गरेका थिए । उपकुलपतिले सार्वजनिक सूचनाबाट व्यक्तिगत विवरण माग गरी प्राध्यापकहरूमध्येबाट दुई जनाको नाम सिफारिस गरेका थिए । त्रिवि ऐनमा उपकुलपतिले गरेको सिफारिसका आधारमा कुलपतिले रेक्टर र रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ । तर प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओलीले सिफारिसमा पुनर्विचार गर्न दबाब दिएपछि नियुक्तिमा ढिलाइ भएको थियो । सिफारिस गरेका व्यक्तिलाई नियुक्त नगरे उनीहरूलाई ३ महिने जिम्मेवारी दिने अडान उपकुलपति बरालले लिएका थिए । उनको अडानपछि कुलपतिले सिफारिस गरिएकै व्यक्तिहरूलाई नियुक्ति गरेका हुन् । यसअघि राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी चयन हुने गरेको भन्दै रेक्टर, रजिस्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा गर्दै उनलाई टिम बनाउने अधिकार दिनुपर्ने आवाज उठेको थियो । उपकुलपति बरालले त्रिविलाई नियुक्तिमा भागबन्डा मुक्त गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
रिजाल र केसीले शुक्रबार नै नियुक्ति पत्रसमेत बुझेको बरालले जनाए । नवनियुक्त रजिस्ट्रार रिजाल नेपाल खुला विश्वविद्यालय विज्ञान, स्वास्थ्य र प्रविधि संकायका डिन हुन् । त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक उनी एक वर्षअघि डिन नियुक्त भएका थिए । त्यसअघि पदपूर्ति समितिका सदस्य थिए । २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट उपप्राध्यापकका रूपमा उनले प्राध्यापन सुरु गरेका थिए । त्रिवि र अस्ट्रेलियाबाट स्नातकोत्तर रिजालले भारतको पुणे विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका छन् । ६१ वर्षीय उनी धादिङ निवासी हुन् । त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संस्थापक प्रमुख केसी २०५३ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेसामा सक्रिय थिए । त्रिविबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर उनले जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको बोर्ड पूर्वसदस्य रहेका उनी पर्वत निवासी हुन् । ५६ वर्षीय नवनियुक्त रजिस्ट्रार केसी सरकारले गठन गरेको गृह प्रशासन सुधार उच्चस्तरीय कार्यदलका सदस्यसमेत छन् । रिजाल कांग्रेस र केसी एमालेनिकट मानिए पनि उनीहरू प्राध्यापक संगठनलगायत कुनै पनि भ्रातृ संगठनमा भने आबद्ध छैनन् ।
त्रिविमा कात्तिकदेखि रेक्टर र पुसदेखि रजिस्ट्रार निमित्त थिए । पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल कात्तिकमा सकिएपछि तत्कालीन रेक्टर शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । भुसाल निमित्त उपकुलपति बनेपछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिनले निमित्त रेक्टरको जिम्मेवारी पाएका थिए । त्यस्तै पुसमा पूर्वरजिस्ट्रार पेशल दाहालको कार्यकाल सकिएपछि कानुन संकायका डिन कृष्णप्रसाद बस्याललाई निमित्तको जिम्मेवारी तोकिएको थियो । फागुन ११ गते बराल उपकुलपति नियुक्त भएपछि रेक्टर, रजिस्ट्रारको नियुक्ति प्रक्रिया अघि बढेको थियो । उपकुलपतिसहित उनीहरूको कार्यकाल ४ वर्षको हुनेछ ।

समाचार

भूमि आयोग विघटनविरुद्ध अन्तरिम आदेश

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– भूमि आयोगलाई विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्माको इजलासले शुक्रबार गरेको आदेशमा भएकालाई विघटन गरी अर्को भूमि आयोग गठन गर्ने सरकारको काम हालका लागि अघि नबढाउन भनिएको छ ।
सरकारले गत चैत ८ मा भूमि आयोगको केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका आयोगका पदाधिकारीका पक्षमा यसअघि सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसमाथिको सुनुवाइमा सर्वोच्चले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो ।

समाचार

उन्मुक्तिको बन्धक बन्यो सुदूरपश्चिमको प्रदेशसभा

- अर्जुन शाह

(धनगढी)
शुक्रबार मध्याह्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीका सांसद एवं संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरिएको पत्र सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई जानकारीका लागि पठाइन् । अध्यक्ष श्रेष्ठको पत्र त्यतिबेला जारी
भयो, जतिबेला उनको पार्टीका प्रदेश सांसदहरूको अर्को समूहले श्रेष्ठले नरुचाएका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाउने निर्णय सार्वजनिक गरेका थिए ।
अध्यक्ष श्रेष्ठले सांसद घनश्याम चौधरीलाई निलम्बन गर्न सभामुखलाई लेखेको पत्रमा ‘पार्टीका महत्त्वपूर्ण बैठकमा अनुपस्थित भएर निराश बनाएको र स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीको अन्तरिम विधान, २०७८ धारा १७ को २, ४ र ५ बमोजिम कार्य नगरेकाले पार्टीको केन्द्रीय कमिटीको चैत ३० मा बसेको बैठकको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको छ’ भनेकी छन् । यसअघि उनै घनश्यामलाई चैत २५ गते संसदीय दलको नेताबाट हटाएर कैलाश चौधरीलाई दलको नेता तोकिएको पत्र अध्यक्ष श्रेष्ठले सभामुख भण्डारीलाई पठाएकी थिइन् । तर सभामुख भण्डारीले भने उक्त पत्रलाई मान्यता दिएका थिएनन् ।
त्यसअघि अर्की सांसद इन्दिरा गिरीलाई अध्यक्ष श्रेष्ठकै पत्राचारका आधारमा प्रदेशसभा सदस्यबाट निष्कासन गरिसकिएको छ । राज्यमन्त्रीसमेत रहेकी गिरीलाई सांसदबाट फिर्ता बोलाइएको पत्र अध्यक्ष श्रेष्ठले चैत २१ गते सभामुख भण्डारीलाई पठाएकी थिइन् । सोही पत्रका आधारमा सभामुखले चैत २६ मा गिरीलाई पार्टीको सिफारिसअनुसार फिर्ता पठाइएको सूचना प्रदेशसभामा टाँस गरेपछि गिरीको सांसद पद नै गुमेको थियो । गिरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद थिइन् । ‘ममाथि अन्याय भएको छ,’ गिरीले भनिन्, ‘अब कानुनी उपचार खोज्छु ।’
सांसदहरूको संख्याका आधारमा दलहरूले वर्चस्व कायम गर्ने संसदीय अभ्यासमा नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले भने भएका सांसदलाई पनि धमाधम कारबाही गर्नुमा उनी र संरक्षक रेशम चौधरीबीच उत्पन्न विवाद नै प्रमुख कारण बनेको छ । प्रदेशसभामा सात जना सांसद निर्वाचित गर्न सफल नागरिक उन्मुक्तिका सांसदहरूको बहुमत संख्या संरक्षक चौधरीका पक्षमा अडिग भएपछि अध्यक्ष श्रेष्ठ क्रुद्ध भएर एकपछि अर्को कदम चालिरहेकी छन् । सांसदहरू घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी, खुसीराम डगौरा थारू र इन्दिरा गिरी सुरुदेखि नै रेशम पक्षमा खुलेर लागेका थिए । उनीहरू सबै मन्त्री पनि भए । यता श्रेष्ठको पक्षमा भने सांसद कैलाश चौधरी र टीका थापा मात्र लागेका थिए । विवाद चर्किंदै जानुको कारण सरकार गठनमा मतान्तर नै हो । अध्यक्ष श्रेष्ठ नवगठित सत्ता गठबन्धनमा जानुपर्ने अडानमा छन् भने पार्टी संरक्षक चौधरी कांग्रेससँगै सहकार्य गरेर अघि बढ्नुपर्नेमा छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेशसभा सदस्यले दाबी पेस गर्न सकेका छैनन् । सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीमा लामो समयदेखि चलिरहेको आन्तरिक किचलोकै कारण नयाँ सरकार गठन कार्य निष्कर्षमा पुग्न नसकेको हो ।
अध्यक्ष श्रेष्ठ सुदूरपश्चिममा आफ्नै पार्टीबाट र आफैंले चाहेको सांसद मुख्यमन्त्री हुनुपर्ने अडानमा छिन् । अध्यक्ष श्रेष्ठ पक्षधर नागरिक उन्मुक्तिका नेता–कार्यकर्ताका अनुसार उनले सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अग्रसर हुन भनेकी छन् । अध्यक्षकै आश्वासनअनुसार आफू मुख्यमन्त्री हुनेमा उनी उत्साहित पनि बनेका छन् ।
संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठ समूहबीच विवाद बल्झिँदा प्रभावशाली देखिएकी पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्दै गर्दा उनलाई अरूबाट होइन, आफ्नै पक्षधरबाट बाधा छ । ती बाधाहरू पन्छाउन उनले चालिरहेका कदममा संसदीय अभ्यास र मर्यादामाथि नै गलत प्रयोग भइरहेको कतिपयको बुझाइ छ ।
सांसद पद निष्कासन वा निलम्बन हुने निश्चित कानुनी व्यवस्था छन् । संसदीय परम्परा, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र प्रदेशसभा नियमावलीका प्रावधानहरू सांसदहरूका लागि आकर्षित हुन्छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८, ३२ र ३४ मा सांसदको पद जाने सम्बन्धित व्यवस्था छन्, प्रदेशसभा नियमावली, २०७४ को दफा १८७ मा स्थान रिक्तताको सूचनासम्बन्धी प्रबन्ध गरिएको छ ।
‘दुवै समूहमा जे गरे पनि हुन्छ भन्ने अहंकारले यी घटना भइरहेको देखिन्छ । कुनै पनि प्रक्रिया कानुनसम्मत छैनन्,’ अधिवक्ता गम्भीरसिंह ऐरले भने, ‘सांसद गिरीलाई पदबाट निष्कासन गरियो, त्यसपछि घनश्याम चौधरीलाई हटाएर माथिबाटै अर्कोलाई दलको नेता तोकियो, अहिले त उनलाई सांसद पदबाटै निलम्बन गरिएको पत्र सार्वजनिक भएको छ ।’ यता सभामुख भण्डारी भने कुनै दल विशेषको आन्तरिक झगडाको कोपभाजनमा संसदीय अभ्यास र मर्यादालाई पर्न नदिनेमा आफू सचेत रहेको बताउँछन् ।
प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई १० दिनको म्याद दिएर आउँदो वैशाख २ गते अपराह्न ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । यता, प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने अहिले
आह्वान भएको १६८ (२) अनुसार सरकार गठन हुन नसकेमा पुनः १६८ (३) बमोजिम आफ्नै नेतृत्वमा सरकार गठन हुने आसमा देखिएको छ ।

 

Page 4
युवा ग्यालरी

नोबेल विजेता ग्रासको निधन

- कान्तिपुर संवाददाता


सन् २०१५ मा आजकै दिन (अप्रिल १३) मा नोबेल पुरस्कार विजेता गुन्टर ग्रासको निधन भएको थियो । जर्मन साहित्यकार ग्रासले १९९९ मा साहित्यतर्फको नोबेल पुरस्कार जितेका थिए ।
१९२७ अक्टोबर १६ मा (हालको पोल्यान्ड) मा जन्मिएका ग्रासले १३ वर्षको उमेरमा उपन्यास लेखेका थिए । १६ वर्षको उमेरमा दोस्रो विश्वयुद्धमा होमिएका उनी घाइतेसमेत भएका थिए । १९४५ मा उनलाई अमेरिकाले युद्धबन्दी बनाएको थियो । १९४६ मा मुक्त भएका ग्रासले त्यसपछि इटाली र फ्रान्सको भ्रमण गरेका थिए ।
ग्रास १९५९ मा प्रकाशित टिन ड्रमबाट उपन्यासकारका रूपमा चर्चामा आएका थिए । उनका ‘क्याट एन्ड माउस’, ‘द डग एयर्स’, ‘लोकल एनेस्थेटिथक’, ‘द मिटिङ एट टेलगेट’ ‘द कल अफ द टोड’ चर्चित छन् । उपन्याससँगै ग्रासले कविता र नाटकसमेत लेखेका छन् । ग्रासले ‘हाई टाइड’, ‘अंकल अंकल’, ‘द विक्ड कुक्स’ लगायतका नाटक लेखेका छन् ।

युवा ग्यालरी

पुल–अपमा अविश्वसनीय कीर्तिमान

- हिमेश

(काठमाडौं)
मानवीय क्षमताको सीमा कतिसम्म हुन्छ ? खेल विज्ञानका लागि यो निकै रुचिको विषय हो । तर उत्तर भने सजिलो छैन । के म्याराथन अबको केही वर्षमा दुई घण्टाभन्दा कम समयमा दौडिने को आउला त ? पछिल्लो समय निकै चर्चाको विषय बनेको छ । यो त भयो, मूल खेल विधाकै कुरा । खेलकुदसँगै जोडिएको तर मूल विधाभन्दा केही परको कुरा गरौं । कोही कसैले कतिसम्म पुल–अप गर्न सक्छ त ? सबैलाई थाहा छ,
दैनिक व्यायामका लागि यो असाध्यै उपयोगी अभ्यास हो ।
यसले शरीरका माथिल्ला भागका अधिकांश मांसपेशीलाई बलियो बनाउने गर्छ । यो सबै पृष्ठभूमि किनभने दुई दिनअघि मात्रै पुल–अपमा नयाँ विश्व कीर्तिमान बनेको छ । यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले पनि उत्तिकै महत्त्व दिएको छ । यसको कारण ती कीर्तिमानधारीले मानवीय क्षमतालाई हदैसम्म टाढा पुर्‍याएका छन् । उनी हुन्, जापानका केन्ता अदाची । भर्खरै उनले पुरुषतर्फ २४ घण्टामा सर्वाधिक पुल–अपको विश्व कीर्तिमान बनाएका छन् ।
त्यो भनेको ठ्याक्कै ८ हजार ९ सय ४० पुल–अप । अविश्वसनीय छ नि यो । यस क्रममा अदाचीले यसअघि अस्ट्रेलियाका ग्यारी लोडयका नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । उनले तीन सय पटकभन्दा बढी पुल–अप गरेर यो कीर्तिमान बनाए । सन् २०२२ मै उनले पुल–अपकै एउटा विश्व कीर्तिमान बनाएका थिए । त्यो भनेको लगातार ६ सय ५१ पुल–अपको । रमाइलो के भने उनले लगभग आफ्नो
जीवनको अधिकांश समय यही खेलकै लागि बिताए भन्दा हुन्छ ।
तर सुरुदेखि उनी यसमै थिए भन्ने पनि होइन । कुरा यस्तो छ । सन् २००७ मा केन्ताले जापानी कोस्ट गार्डमा काम सुरु गरे । अब यस्तो काममा शारीरिक मजुबतता त चाहियो नै । त्यसमध्ये एक त पुल–अप नै भयो । त्यति बेला उनले पहिलोपल्ट पुल–अपको प्रयास गर्दा असाध्यै नराम्रोसँग असफलता चाखे । पुल–अपका लागि जत्ति नै प्रयास गरे पनि उनी खह्रो उत्रन सकेनन् । आफ्ना सहकर्मीबीच उनलाई असाध्यै अप्ठ्यारो लाग्यो ।
अनि केन्ताले एउटा निर्णय गरे, यसमै महारथ प्राप्त गर्ने । सन् २०२१ यता त उनी यसै खेलमा मात्र छन् भन्दा हुन्छ । यसका लागि उनले एउटा डायरी पनि बनाए । त्यसअनुसार सन् २०१५ को जुनमा उनले एकै पल्टमा ८० पल्ट पुल–अप गरे । सन् २०१६ को मार्चसम्म पुग्दा यसले सय छोयो । सन् २०२१ को फेब्रुअरीमा उनले यसलाई १ सय २ पुर्‍याए । यसबीच कमै मात्र सुधार भयो भन्दा हुन्छ । सन् २०२१ को अप्रिलमा बल्लतल्ल १ सय १० पुल–अप गर्न सक्ने भए, लगातार ।
सन् २०२१ को जुनमा पुल–अपले २ सय २१ छोए अनि त्यही वर्षको सेप्टेम्बरमा ४ सय ३० पुल–अप गर्न सक्ने भए । अविश्वसनीय छ नि यो पनि । खासमा खेलकुदमा शारीरिक प्रदर्शन गर्ने सक्ने क्षमताले मात्र पुग्दैन, त्यसका लागि मानसिक रूपमा पनि उत्तिकै बलियो हुन आवश्यक छ । केन्ताले यही काम गरे । जति उनले विश्व कीर्तिमानका लागि लगातार ६ सय ५१ पल्ट पुल–अफ गरे, उनको आत्मविश्वासले लगभग आकाश छोइसकेको थियो ।
त्यही बेला त हो, उनले निर्णय गरेको, अब २४ घण्टामा सर्वाधिक पुल–अपको कीर्तिमान बनाउने । यसैमा उनी सफल भएका छन् । उनले सञ्चारमाध्यमहरूलाई भनेका छन्, ‘लगातार पुल–अपका अनेक कीर्तिमान छन् । मलाई के लाग्यो भने २४ घण्टामा सर्वाधिक पुल–अपको कीर्तिमान अभेद जस्तै हुनेछ । यसलाई कीर्तिमानको राजा भन्दा पनि हुन्छ ।’ उनले यो अठोट लिँदा यस्तो कीर्तिमान ब्रेन्डन टकरको नाममा थियो ।
सन् २०१९ मा यी टकरले २४ घण्टामा ७ हजार ७ सय १५ पल्ट पुल–अप गरेका थिए । त्यसपछि पुल–अपको कीर्तिमान बन्ने होड जस्तै चल्यो । एकले बनाउने, अर्कोले भंग गर्ने । सन् २०२३ को अन्त्यतिर उनी यसमै मात्र केन्द्रित भएर अभ्यास गर्न थाले । त्यसै क्रममा उनले नौ घण्टामा पाँच हजारपल्ट पुल–अप गरे । उनलाई लाग्यो, अब उनले लय समातेका छन् । यसपल्टको कीर्तिमान बनाउन अगाडि उनले अभ्यासको क्रमलाई केही कम गरे ।
खेलकुदको सूत्र भनेकै यही हो । मूल प्रतियोगिताको ठीक अगाडि आफ्नो शरीरलाई केही आराम पनि दिने । नयाँ विश्व कीर्तिमान बनाउन अगाडि उनले एकाध घण्टा मात्रै अभ्यास गरे । यसक्रममा उनले शरीरमा पर्याप्त शक्ति सञ्चय गरे । जति बेला निर्णायक दिन आयो, एक घण्टाको पुल–अपपछि उनलाई केही अप्ठ्यारो महसुस हुन थाल्यो । पेटमा पनि गडबडी हुन थालेको थियो । नतिजा उनलाई वान्ता हुने डर पनि लाग्यो ।
केन्ताले मनका कुरा खेलाए, अब सकिन्न कि ? तर उनले हरेस खाएनन् । अन्ततः उनी लड्दै भिड्दै त्यो जादुयी आँकडासम्म पुगे, जसलाई विश्व कीर्तिमान भन्ने गरिन्छ । उनको अन्त्यमा प्रतिक्रिया थियो, ‘शरीर अत्यधिक पीडामा थियो । प्रत्येकपल्ट केही समय आराम लिँदा मलाई लाग्थ्यो, अब म फेरि पुल–अप गर्न सक्दिनँ । तर मैले जत्तिकै दबाबबीच पनि प्रयत्न छाड्दिनँ । फेरि परिवार र साथीभाइ सबैले मलाई विश्व कीर्तिमानका लागि उक्साइरहेका थिए ।’

 

युवा ग्यालरी

च्याउले फेरिँदै जीवन

- विप्लव महर्जन

(सल्यान)
शारदा नगरपालिका–१३ का लालबहादुर विक सानैदेखि पढाइसँगै कृषिमा रुचि राख्थे । विद्यालय छुट्टी भएपछि करेसाबारीमा लगाएका तरकारी तथा अन्य बाली गोडमेलमा बाबुआमालाई सघाउने उनले अध्ययनसँगै कुखुरापालन पनि गरे । घरको आर्थिक अवस्था कमजोर भएकाले कृषि प्राविधिक पढ्ने चाहना पूरा गर्न नसके पनि कृषि पेसा भने उनले हालसम्म अँगालेका छन् ।
विक अहिले च्याउ खेती र बीउ उत्पादनमा रमाउँदै आएका छन् । नवयुग प्रेरणा एग्रिकल्चर फर्म दर्ता गरेर २०७४ देखि च्याउ खेतीमा लागेका विकले यसबाटै राम्रो आम्दानी पनि गर्दै आएका छन् । वार्षिक ४० लाखसम्मको कारोबार गर्दै आएका उनले सबै खर्च कटाएर करिब दस लाख बचाउने बताउँछन् । आम्दानीले उनले ६ जनाको परिवारका लागि खर्च पुगेको छ । त्यसका साथै, पछिल्लो समय उनी नयाँ जातका च्याउ खेती परीक्षणमा सक्रिय छन् ।
च्याउ खेतीबाटै फरक पहिचान बनाएका उनलाई अहिले सबैले च्याउ उत्पादक किसानको रूपमा चिन्छन् । पछिल्नो समयमा कक्षा १२ सम्मको अध्ययनपछि सबै युवाहरू विदेशिने गरेका छन् । तर उनी भने आफ्नै गाउँठाउँमा बसेर रुचिअनुसारको काम गर्दा विदेश धाउनु नपर्ने बताउँछन् । ‘प्लस टु पढ्दै गर्दा २०६४ मा मैले सुरुमा तरकारी खेती र माछापालन गरें,’ उनी भन्छन्, ‘तरकारीबाट घर खर्च टार्न अलि गाह्रो भएपछि बंगुरपालन पनि गरें ।’
त्यही बेला च्याउ खेतीका लागि भारतको हिमाचल प्रदेशको सोलान च्याउ खेती अनुसन्धान कार्यालयमा ६ महिनाको तालिम लिने मौका पाएपछि भने उनका दिन फेरिए । त्यसपछि उनले च्याउ उत्पादन कम्पनीमा १८ महिना काम गरे । कम्पनीमा सिकेको सीप सदुपयोग गरेर घर फर्केपछि च्याउ खेती सुरु गरे । ‘सुरु–सुरुमा केही गाह्रो भयो तर त्यसलाई निरन्तरता दिएकै कारण अहिले मेरा लागि जीवन उकास्ने माध्यम बनेको छ,’ उनले भने ।
सुरुमा बजार अभावका उत्पादित च्याउ कुहिएपछि ४ लाख बराबरको क्षति बेहोर्नुपरेको उनले बताए । पछिल्लो समय भने बजारको समस्या छैन उनलाई । ‘सुरु–सुरुमा त मलाई सबैले च्याउ खेती गरेर कसले खाइदेला भनेर निरुत्साहित गर्थे तर मैले त्यसलाई मतलब गरिनँ । एउटा मोटरसाइकल किनें र त्यसमै राखेर बजारबजार धाएँ । अहिले बजारको कुनै समस्या छैन,’ उनले भने ।
च्याउ तथा बीउ उत्पादनमा लागेपछि घरका सबैलाई रोजगारी मिलेको विक बताउँछन् । ‘घरको आर्थिक अवस्था कमजोर भएकाले सुरु–सुरुमा बिहान–बेलुकीको छाक टार्न गाह्रो हुन्थ्यो । अर्काको काम गर्नुपर्थ्यो । अहिले त्यस्तो छैन,’ उनले भने । च्याउ खेतीबारे उनले हाल जिल्लाभित्रका युवा तथा विद्यार्थीलाई सिकाउँदै पनि आएका छन् । त्यसका साथै, विभिन्न पालिका तथा सम्बन्धित निकायको सहकार्यमा उनले बेलाबेलामा किसानलाई तालिमसमेत दिने गरेका छन् ।
च्याउ खेतीमा सक्रिय उनलाई कृषि विकास कार्यालय सल्यानले १५ लाख अनुदान दिएको छ । त्यसबाट गोर्ब्रे च्याउ खेतीका लागि थप संरचना तयार भइरहेको र उत्पादित च्याउ तथा बीउ रुकुम, दाङ, जाजरकोट, सुर्खेतलगायतका जिल्लामा पुर्‍याउने उनको लक्ष्य छ ।

युवा ग्यालरी

पत्रकार भण्डारीको ‘बोरा’ सार्वजनिक

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादकसमेत रहेका भण्डारीको उपन्यास उनकै ९० वर्षीया आमा गंगाकुमारी भण्डारी, सासू जीवन्तकुमारी घिमिरे र गुरुआमा मैयादेवी ढुंगेलले शुक्रबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गरिएपछि लेखक तथा पत्रकार भण्डारीसँग उपन्यासलाई लिएर पत्रकार नीरज जोशीले संवाद गरेका थिए ।
जोशीले उपन्यासकार भण्डारीलाई सोधे, ‘एउटा छोराले बोरामा हालेर नदी किनारमा छोडेको कथा छ बोराभित्र’ । तर उपन्यास ती आमा हाँसेपछि टुंगिएको छ । कसरी भेट्नु भयो ती आमालाई ?’ भण्डारीले जवाफ दिए, ‘यो सत्य घटनामा आधारित उपन्यास हो, भलै ठाउँ, पात्र र परिवेश परिवर्तित भएका छन् । ती आमालाई एक दशकअघि भेटाएँ । म ज्युँदो हुँदै लेखिसक्नू भन्नुहुन्थ्यो तर अहिले उहाँ यस धरतीमा हुनुहुन्न । आमा भन्नुहुन्थ्यो– यस्तो किताब लेख्नु ताकि त्यसले समाज परिवर्तन गरोस् ।’ पुस्तक पिस बुक प्रालिले बजारमा ल्याएको हो ।

Page 5
अर्थ वाणिज्य

घट्यो निक्षेपको ब्याजदर, बढ्न सकेन कर्जा

- यज्ञ बञ्जाडे

(काठमाडौं)
वैशाख महिनाका लागि वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर औसत ०.२९ प्रतिशतले घटेको छ । योसँगै वैशाखमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.९६४ प्रतिशत कायम हुनेछ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटाएको, तीन वटाले बढाएको र चार वटाले स्थिर राखेका छन् ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेका बेला अधिकांश बैंक तथा वित्तीय संस्थाले वैशाखका लागि निक्षेपको ब्याज घटाएका हुन् । ब्याजदर बढाउने बैंकहरूले पनि सीमान्त दरमा मात्र बढाएको देखिन्छ । जसअनुसार चैतको तुलनामा वैशाखमा कृषि विकास, एभरेस्ट र एनएमबी बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने नबिल, इन्भेस्टमेन्ट मेगा, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । बाँकी १३ वटा बैंकमा चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटेको हो ।
वैशाखका लागि वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर न्यूनतम ५.६९१ र अधिकतम ६.९६४ प्रतिशत रहनेछ । यस्तै साधारण निक्षेपको ब्याजदर पनि ११ वटा बैंकले घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन् । जसअनुसार वैशाखमा वाणिज्य बैंकहरूमा साधारण बचतको औसत ब्याजदर न्यूनतम ३.४५६ र अधिकतम ४.९४६ प्रतिशत
कायम हुनेछ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्नेछ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले शुक्रबार आगामी वैशाखका लागि ब्याजदर सार्वजनिक गरेका छन् । अहिले बैंकहरूको मुख्य समस्या कर्जा माग घट्नु र निष्क्रिय कर्जा (एनपीए) बढ्नु रहेको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । अर्थतन्त्रमा रहेको सुस्तताले यी समस्या आएका हुन् । आर्थिक शिथिलताका कारण निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन । यसको असरले कर्जाको माग बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको उनीहरूको भनाइ छ ।
ब्याजदर निरन्तर घटिरहेको र अझै घट्ने संकेत देखिएकाले बैंकहरूमा अब ब्याजदरको समस्या नरहेको पनि उद्योगी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कान्तिपुरसँगको कुराकानीमा बताए । ‘एक वर्षभन्दा बढीको निक्षेपको ब्याजदर बल्ल भारतीय बैंकहरूको तुलनामा समान तहमा पुगेको छ,’ बैंकिङ विज्ञ परशुराम कुँवरले भने, ‘अहिलेको समस्या कर्जाको माग बढ्न नसक्नु र निकट भविष्यमा बढ्ने संकेत पनि नदेखिनु हो ।’ बढ्दो निष्क्रिय कर्जाले बैंकको नाफा घट्छ, प्राथमिक पुँजीमा चाप पर्छ, कर्जा प्रवाह क्षमतामा कमी आउँछ र आफ्ले दिएको कर्जा नउठ्दा थप कर्जा प्रवाहमा उत्साह नहुने उनको भनाइ छ ।
यस्तै, ०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.७७, विकास बैंकहरूको १०.७१ र वित्त कम्पनीहरूको १२.३३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । सोही समय वाणिज्य बैंकहरूको औसत आधार दर १०.६४ प्रतिशत थियो । ०८० फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७४, विकास बैंकहरूको ७.९३ र वित्त कम्पनीहरूको ९.१३ प्रतिशत छ । ०७९ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर ०८० फागुनमा वाणिज्य बैंकहरूको १०.७८, विकास बैंकहरूको १२.५२ र वित्त कम्पनीहरूको १३.६१ प्रतिशत रहेको थियो । ०७९ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो ।
गत वर्षको साउनदेखि फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोडले बढेको छ । यो ७.६ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत थियो । गत वर्षको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.८ प्रतिशत थियो ।
यस्तै, चालु आर्थिक वर्षको आठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ वाणिज्य

सुनको मूल्य ३ सातामा १२ हजार ३ सयले बढ्यो

- कान्तिपुर संवाददाता

(काठमाड्रौं)
पछिल्ला केही सातायता सुनको मूल्यले दैनिक नयाँ/नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर फेरी नयाँ कीर्तिमानी बनाएको छ । मूल्यमा नयाँ कीर्तिमानीसँगै शुक्रबार प्रतितोला सुनको भाउ १ लाख ३९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य भने गहना व्यवसायीका लागि हो । गहना व्यवसायीले ज्याला र जर्तीको मूल्य जोडेर उपभोक्तालाई बिक्री गर्छन् ।
महासंघले तोकेको मूल्यमा ज्याला र जर्तीको नाममा १२ देखि १८ प्रतिशत जोडिन्छ । १५ प्रतिशतको हिसाबले सर्वसाधारणलाई प्रतितोला १ लाख ५९ हजार ८ सय ५० रुपैयाँ पर्न आउँछ । ‘सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । नयाँ रेकर्डसँगै उपभोक्ता मूल्य पनि बढ्दो क्रममा छ,’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘तीन साताको तुलना गर्दा तोलामा १२ हजार ३ सय रुपैयाँ बढेको छ ।’
महासंघका अनुसार सुनको मूल्य चैत १२ मा प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ रहेकामा चैत ३० सम्म आइपुग्दा मूल्य १२ हजार ३ सयले बढेर १ लाख ३९ हजार रुपैयाँ पुगेको छ । एक साता (चैत २५ देखि ३०) सम्मको तुलना गर्दा पनि मूल्य तोलामै ३ हजार ४ सय रुपैयाँ बढेको छ । चैत २५ मा प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा करोबार भएको सुन क्रमशः बढेर शुक्रबार १ लाख ३९ हजार रुपैयाँ पुगेको हो ।
मूल्य बढ्नुको कारण अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मूल्यमा देखिएको मजबुती रहेको महासंघको विश्लेषण छ । त्यस्तै, रुस र युक्रेन तथा इजरायल र हमासबीचको युद्ध हो । भारत र चीनले सुनमा बढाएको लगानीलगायतका कारणले मूल्य उचाइमा पुगेको महासंघको निष्कर्ष छ । ‘मूल्य उचाइमा पुगिरहँदा ठूला बैंकहरू आफ्नो पूर्व प्रक्षेपण नै फेर्न बाध्य भएका छन्,’ महासचिव बज्राचार्यले भने, ‘त्यही कारण पनि यो साता सुनको भाउले थप रेकर्ड बनायो ।’
एक साताको मूल्य विश्लेषण गर्दा सुनचाँदीको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबारदेखि नै निरन्तर रेकर्ड कायम गर्दै आएको मूल्यले पाँचौं दिन बिहीबार सामान्य घटेर प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार भने प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार फेरि नयाँ रेकर्ड कायम गर्‍यो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा व्यवसायीले पनि ज्याला र जर्ती जोड्छन् । जसले गर्दा उपभोक्ता मूल्य थप महँगो परेको छ । सुनको भाउले नयाँ कीर्तिमानी बनाएपछि बजार सुस्त भएको महासंघअन्तर्गत मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताए । ‘अब लगानीको सिजन सुरु भयो तर बजारमा माग छैन । मूल्यमा भएको दैनिक नयाँ रेकर्डले बजार सुनसानजस्तै भयो,’ महासंघका पूर्वअध्यक्षसमेत रहेका शाक्यले भने, ‘यो वर्ष गहना/सुन व्यवसायीका लागि उत्तम भएन ।’ उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २५ सय डलर पुग्ने अनुमान छ । यसले स्थानीय बजार थप प्रभावित हुने शाक्यले बताए ।
हाल कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । चाडबाड र बिहेको सिजनमा सुनको माग बढ्ने हुँदा व्यवसायीहरूले कोटा बढाउन लबिइङ गर्छन् । पछिल्लो समय भने बैंकको सुनसमेत उठेको छैन । सुनको भाउ बढ्न थालेपछि व्यवसायीले बैंकलाई सुन आयात नगरिदिनसमेत आग्रह गर्दै आएका छन् । महासंघका अनुसार यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ । साताको सुरुदेखि नै बढेको मूल्य साताभर कुनै दिन मूल्य घटेन । साताको पहिलो दिन आइतबार तोलाको १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

अर्थ वाणिज्य

हिमाल आरोहण गर्न ४२ देशका आरोही नेपालमा

- कान्तिपुर संवाददाता

(काठमाडौं)
वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथासहित २१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपाल आइपुगेका छन् । पर्यटन विभागका अधिकृत दिलीप महर्जनका अनुसार, चैत मसान्तसम्म विभागबाट ४२ वटा मुलुकका आरोहीले आरोहण अनुमति लिइसकेका हुन् । जसमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति
लिएका छन् ।
विभागले फागुन १८ यता सगरमाथासहित पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धौलागिरि हिमाल आरोहणका लागि ६१ वटा आरोहण दललाई सलामी दस्तुर लिई आरोहण अनुमति दिएको हो । जसमा १ सय १९ महिला र ४ सय २४ पुरुष गरी ५ सय ४३ जना छन् । आरोहण अनुमति जारी गर्दा विभागले २८ लाख ३६ हजार ९ सय ३३ अमेरिकी डलर (३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ) सलामी दस्तुर संकलन गरेको अधिकृत महर्जनले जनाए । हालसम्म विभागले प्राप्त गरेको सलामी दस्तुरमध्ये ३३ करोड रुपैयाँ सगरमाथा आरोहण गर्ने दलबाट संकलन भएको छ । सगरमाथा आरोहणका लागि २२ वटा आरोहण दलबाट २ सय ३४ जनाले अनुमति लिएका छन् । योपछि सर्वाधिक सलामी दस्तुर मकालु हिमालबाट भएको छ । आरोहणमा जाने ४ आरोहण दलका ४५ सदस्यबाट विभागले १ करोड ७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।
यस पटक सगरमाथा आरोहण गर्न जानेहरूका लागि मौसम प्रतिकूल भएकाले आधारशिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउने कार्य प्रभावित भएको छ । पर्वतारोहण सञ्चालक संघका अध्यक्ष डम्मर पराजुलीका अनुसार, आधारशिविरमाथि आइसफल डाक्टरले बाटो बनाइरहेका थिए । तर केही दिनयता हिमाली भेगमा हिमपात भएका कारण आधारशिविरमाथि बाटो बनाउने कार्य प्रभावित बनेको हो । उनका अनुसार, मौसम सफा भएपछि आरोहीहरूका लागि बाटो बनाउने कार्य पुनः सुचारु हुनेछ । दोस्रो शिविरभन्दा माथि डोरी टाँगेर बाटो बनाउने काम जेठ पहिलो सातासम्म हुने व्यवसायीहरूले प्रक्षेपण गरेका छन् ।
नेपालले ५ हजार ५ सय मिटरभन्दा अग्ला १३ सय वटा हिमालमध्ये ४ सय
१४ वटा आरोहण तथा अन्य पर्यटकीय गतिविधिका लागि खुला गरेको छ ।
नेपालमा पर्यटन विभागबाहेक नेपाल पर्वतारोहण संघले पनि हिमाल आरोहणको अनुमति जारी गर्छ । संघलाई सरकारले ५८ सयदेखि ६४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्न अनुमति दिएको छ ।

संघमातहत रहेका ती हिमालमा अधिकांश आरोहीहरू ८ हजार मिटरभन्दा उचाइका विश्वका १४ अग्ला हिमाल आरोहण गर्न जानुअघि अभ्यासका लागि जाने गर्छन् । सगरमाथा आरोहणका लागि नेपाल सरकारले विदेशी आरोहीबाट वसन्तयाममा ११ हजार डलर (१४ लाख ६६ हजार रुपैयाँ) र नेपाली नागरिकबाट ७५ हजार रुपैयाँ सलामी दस्तुर लिने गर्दछ । सगरमाथाबाहेक अरू ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्दा विदेशीले १८ सय डलर (२ लाख ४० हजार रुपैयाँ) र ६५ सय मिटर उचाइभन्दा कम उचाइ भएका हिमाल आरोहण गर्दा २ सय ५० डलर (३३ हजार रुपैयाँ) सलामी दस्तुर बुझाउनुपर्छ । यी हिमालमा नेपाली नागरिकले आरोहण गर्दा विदेशीको दाँजोमा अत्यन्तै न्यून सलामी दस्तुर बुझाउँछन् ।

Page 6
अर्थ वाणिज्य

जलवायु परिवर्तन सम्बन्धी कानुन बनाउन गृहकार्य

- जगदीश्वर पाण्डे

(काठमाडौं)
जलवायु परिवर्तनसम्बन्धी कानुन निर्माण गर्न गृहकार्य सुरु भएको छ । नेपाल कानुन आयोगले जलवायु परिवर्तनसम्बन्धी व्यवस्था गर्न आवश्यक कानुनका लागि विधेयकको मस्यौदा तयार पारेको हो । नेपालमा हालसम्म जलवायु परिवर्तनसम्बन्धी कानुन छैन । सर्वोच्च अदालतले २०७५ पुस १० मा जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन सरकारलाई आदेश गरेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको पूर्ण इजलासले नेपालको संघीय संविधानअनुसार जलवायु परिवर्तनसम्बन्धी ऐन बनाउन आदेश दिएको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७४ कात्तिक १४ मा रिट दायर गरेका थिए । जलवायु परिवर्तनको विषय अति गम्भीर भए पनि नेपालमा विद्यमान वातावरण संरक्षणसम्बन्धी बनेको वातावरण संरक्षण ऐन–२०५३ मा जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने कुनै कानुनी व्यवस्था नभएको उल्लेख गर्दै श्रेष्ठले रिट हालेका थिए ।
त्यसको सुनुवाइ गर्दै जलवायु परिवर्तनसम्बन्धी कानुन निर्माणका लागि छुट्टै ऐन आवश्यक रहेको फैसला आएको थियो । त्यसबेला अदालतले ऐन लागू नभएसम्म जलवायु परिवर्तन नीति २०६७ मा उल्लेख्य व्यवस्था तत्काल कार्यान्वयन गर्न/गराउनसमेत फैसला गरेको थियो । नेपाल कानुन आयोगका प्रवक्ता पाराश्वर ढुंगानाले जलवायु परिवर्तनसम्बन्धी कानुन निर्माणका लागि प्रारम्भिक मस्यौदा तयार पारेको र यो छलफलकै चरणमा रहेको जानकारी दिए । उनले भने, ‘मस्यौदा तयार पारेर एक पटक छलफल पनि गरेका छौं । सम्भव भएमा अर्को पटक पनि छलफल गर्नेछौं । प्रारम्भिक मस्यौदा तयार पारेपछि वन तथा वातावरण मन्त्रालयमा पठाउनेछौं ।’
४६ बुँदामा कानुन आयोगले तयार पारेको उक्त विधेयकको मस्यौदाअनुसार अन्तर्राष्ट्रियस्तरमा स्वीकार गरिएका जलवायु परिवर्तनसम्बन्धी दायित्व निर्वाह गर्न, जलवायु बजेट र कार्बन व्यापार पद्धतिलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्न र जलवायु परिवर्तनका कारण नेपालको आर्थिक, सामाजिक वातावरण, कृषि, जैविक विविधतामा उत्पन्न समस्याको दिगो समाधान र व्यवस्थापन स्थापित गर्ने सम्बन्धमा आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्न वाञ्छनीय भएको उल्लेख छ ।
मस्यौदामा कार्बन व्यापार, खुद कार्बन खाता, राष्ट्रिय जलवायु प्राधिकरण, हरितगृह ग्यास, अनुकूलन, उत्सर्जनलगायतका विषय उल्लेख गरिएको छ । साथै, जलवायु परिवर्तन तथा अनुकूलनसम्बन्धी कार्यहरू प्रभावकारी रूपले सम्पादनका लागि राष्ट्रिय जलवायु प्राधिकरण स्थापना गर्ने भनिएको छ । प्राकृतिक विपद् तथा जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित क्षेत्रका लागि उपयुक्त कानुन, नीति, योजना तथा कार्यान्वयनका उपाय तयार गरी नेपाल सरकार तथा सम्बद्ध निकायलाई प्राविधिक सहयोग र परामर्श दिने प्राधिकरणको काममा उल्लेख छ । मस्यौदामा राष्ट्रिय जलवायु परिषद् रहने पनि उल्लेख छ । जलवायु परिवर्तन तथा अनुकूलनका क्षेत्रमा राष्ट्रिय नीति, राष्ट्रिय कार्यक्रम र योजना निर्माण गरी सोको समन्वयात्मक रूपले कार्यान्वयन गराउने उद्देश्यका लागि राष्ट्रिय जलवायु परिषद् गठन गरिने भनिएको छ ।
मस्यौदामा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु बजेटबारेमा पनि जोड दिइएको छ । जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित र अतिसंवेदनशील क्षेत्रका समुदाय वा बासिन्दाको हक, हित, व्यवसाय र बसोबासको संरक्षणका लागि जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रम लागू गरिने भनिएको छ । मस्यौदामा कार्बन लक्ष्य निर्धारण तथा कार्बन व्यापार योजनाबारे पनि उल्लेख छ । सन् २०५० सम्म खुद कार्बन लक्ष्य, कार्बन लक्ष्य निर्धारण सम्बन्धमा नेपालले कुनै अन्तर्राष्ट्रिय दायित्व स्वीकार गरे तथा कार्बन न्यूनीकरणको समग्र लक्ष्य, कार्यान्वयनको आधार वर्ष र सोपश्चात् प्रत्येक वर्ष न्यूनीकरण गरिने कार्बनको उत्सर्जनको अनुपात हेर्नुपर्ने पनि मस्यौदामा भनिएको छ ।
यस्तै, मस्यौदामा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन योजना, प्रदेशस्तरीय जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन योजना, स्थानीय जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन योजना, जलवायु परिवर्तन योजनाको कार्यान्वयन, जलवायु परिवर्तनसम्बन्धी जानकारी, भौतिक पूर्वाधारको सुरक्षा तथा लगानी संरक्षण र अन्तर्राष्ट्रिय सहयोग, सहकार्यबारे उल्लेख छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले मस्यौदामाथि कानुन आयोगले छलफल गरिरहे पनि मन्त्रालयलाई मस्यौदा प्राप्त भइनसकेको बताए ।

अर्थ वाणिज्य

'स्वास्थ्य जनशक्ति उत्पादनलाई नियन्त्रण होइन, नियमन गरौं’

- कान्तिपुर संवाददाता

(काठमाडौं)
राज्यले सञ्चालन गरेका अस्पतालहरूमा दक्ष जनशक्तिको अभाव रहेको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । अहिलेको अवस्थामा एकातर्फ जनशक्तिको कमी र अर्कोतर्फ अत्यधिक पलायनले गर्दा थप समस्या भइरहेको उनले दाबी थियो ।
ह्याम्स अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा सुरु गरेको ‘स्वास्थ्य सबको सरोकार’ संवाद शृंखला १ को समापन कार्यक्रममा बोल्दै मन्त्री यादवले चिकित्सा शिक्षा आयोगका कारणले गर्दा क्षमता भए पनि मेडिकल कलेजहरूले विद्यार्थी भर्ना गर्न नपाएको समेत बताए । ‘जनशक्तिको अभाव भइरहेको अवस्थामा यदि मेडिकल कलेजहरूको २ सय जना पढाउन सक्ने क्षमता छ भने त्यसलाई ७५ मा किन रोक्ने ? उसलाई पढाउन दिऊँ,’ उनले भने, ‘केही समयअघि मात्रै नर्सिङको पढाइ खोलेका छौं । चिकित्सकका बारेमा पनि छलफल गर्न जरुरी भएको छ ।’ संवाद कार्यक्रममा भेप/ई–सिगरेटको बढ्दो प्रयोगका बारेमा भएको छलफल पनि निकै गम्भीर भएको उनले बताए । ‘शरीरलाई कुनै पनि प्रकारको पोषक तत्त्व नदिने चुरोटका साथै ई–सिगरेट र भेपको प्रयोग बढ्दै जानु पनि निकै गम्भीर विषय हो,’ उनले भने, ‘चुरोट–सुर्ती मात्रै नभएर खाद्य सामग्रीकै सुरक्षाका बारेमा सबै जना सचेत हुनुपर्छ ।’
उनले बाहिरबाट आयात भएका खाद्य सामग्रीका बारेमा समाजमा धेरै सचेतना आवश्यकता रहेको पनि बताए । ‘किनभने ती सामग्रीहरू कमसल हुने गरेको देखिएका छन्,’ उनले भने, ‘यस्ता सामग्रीको प्रयोग गर्नु हुन्न भनेर सामाजिक सचेतना आवश्यक छ । कानुन मात्रैले सबै रोकथाम गर्दैन । तर, एकदमै हानिकारक हो भने हामीले त्यसलाई प्रतिबन्ध पनि लगाउनुपर्छ ।’
‘स्वास्थ्य सबको सरोकार’ संवाद शृंखलाको पहिलो सत्रमा ‘भेप/ई–सिगरेट ः बढ्दो गम्भीर स्वास्थ्य चुनौती’ तथा दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरू’ विषयमा विज्ञ वक्ताहरूले छलफल गरेका थिए । पहिलो सत्रको सुरुवातामा ह्याम्स अस्पतालका छातीरोग विशेषज्ञहरू डा. राजु पंगेनी र डा. रक्षा पाण्डेले नेपालमा युवाहरूमाझ ई–सिगरेटका साथै भेपको प्रयोग बढ्दै जानु गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको कार्यपत्र पेस गरेका थिए । उनीहरूले यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला निकायले समयमै उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
यसैगरी ‘भेप/ई–सिगरेट ः बढ्दो गम्भीर स्वास्थ्य चुनौती’ छलफलमा एमाले सांसद महेश बर्तौला, कांग्रेस सांसद प्रदीप पौडेल, माओवादी केन्द्रका सांसद माधव देवकोटा, रास्वपाका सांसद मनीष झा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलविक्रम कार्की र हिसानका उपाध्यक्ष टंकराज आचार्यले आफ्नो भनाइ राखेका थिए । सो सत्रका सहभागीहरूले चुरोट र सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक रहेकाले त्यसमा प्रतिबन्ध लगाउनु नै उचित भएको धारणा राखेका थिए ।
यस्तै, ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरू’मा नेपाल मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसको छलफलमा नेपाली कांग्रेसका सांसद एवै महामन्त्री गगन थापा, एमाले सांसद तथा सचिव योगेश भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, रास्वपाकी सांसद चन्दा कार्की, चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाल, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसी र नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको सहभागिता थियो ।
सो सत्रमा बोल्दै सांसद गगन थापाले गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि कति जनशक्ति चाहिन्छ र त्यसको संख्या देशमा कति छ भन्ने विषयमा बृहत् छलफल हुन जरुरी भएको बताए । ‘विश्वविद्यालयले अध्ययन गराइरहेको संख्यालाई देशमा अवसर दिन नसकिएको हो या संख्या नै कम हो भन्ने मूल प्रश्न अहिले रहेको छ,’ उनले भने, ‘कति जनशक्ति देशमा आवश्यक छ भन्ने यकिन भएपछि मात्रै त्यसको परिपूर्ति कसरी गर्न सकिन्छ भनेर सोच्ने बेला आउँछ ।’
यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनीकुमार झाका अनुसार नर्सिङतर्फ केही समस्या रहे पनि चिकित्सा शिक्षातर्फ भने अहिले पनि धेरै सिट खाली हुने अवस्था रहेको छ । ‘एमबीबीएसतर्फ हरेक वर्ष सिट बढ्दै गइरहेको छ । तर नर्सिङको पढाइमा भने केही सिट कमी भएकै हो । तर, हामीले त्यसलाई सम्बोधन गर्ने प्रयास सुरु गरिसकेका छौं । पढाउने संस्था र सिट संख्या बढ्ने क्रममा रहेको छ,’ उनले भने, ‘यही हिसाबले भविष्यमा आवश्यक मानवस्रोतको कमी स्वास्थ्य क्षेत्रमा हुँदैन जस्तो लाग्छ । यदि अहिले उत्पादन भइरहेको संख्याले नपुगेको खण्डमा त्यसलाई वृद्धि गर्न पनि सकिन्छ ।’ उनका अनुसार दक्ष जनशक्तिको उत्पादनमा भन्दा उत्पादित जनशक्तिलाई देशभित्रै राख्न भने समस्या रहेको छ । ‘योग्य मान्छेले जहाँ अवसर देख्छ त्यो त्यहीं जान्छ,’ उनले भने, ‘अवसर पाए भने देश नै पनि परिवर्तन गर्छन् । डा. चन्दा कार्की चिकित्सक हुनुहुन्थ्यो अहिले सांसद हुनुभयो ।’ उपाध्यक्ष झाले नेपालको चिकित्सा शिक्षालाई गलैंचा उद्योगजस्तो धराशायी हुन नदिनका लागि विदेशी विद्यार्थीको अध्ययनमा समेत अंकुश लगाउनुपरेको दाबी गरे ।
नेपाल मेडिकल काउलिन्सलका अध्यक्ष डा. चोपलाल भुसालले यहाँ उत्पादन भएका स्वास्थ्य जनशक्तिलाई देशभित्रै राख्नका लागि उचित अवसर दिन नसक्दा पलायनको समस्या देखिएको दाबी गरे । ‘स्टाफ नर्स कम उत्पादन भएका होइनन् । तर जति उत्पादन भए ती पलायन भए,’ उनले भने, ‘हामीले त्यो प्रक्रियालाई रोक्न सकेनौं । उनीहरूले पढाइ सक्नेबित्तिकै विदेश जाने प्रवृत्ति रहेको छ ।’ उनले यो समस्या चिकित्सकहरूमा पनि देखिन थालेको बताए । उनका अनुसार २०२३ देखि २०२४ अप्रिलसम्ममा मात्रै ३२ सय बढीले विदेश जानका लागि काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ’ सर्टिफिकेट लिएका छन् ।
नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले नर्सहरू पलायन भए भनेर अत्तालिनु नपर्ने दाबी गरिन् । उनका अनुसार विश्वभर नै नर्सिङ जनशक्तिको माग अत्यधिक भएका कारण नेपालबाट नर्सहरू पलायन हुने अवस्था आएको हो । ‘यहाँ नर्सिङ जनशक्तिलाई जुन रूपमा उपेक्षा गरियो, त्यसैको परिणाम स्वरूप नर्सहरू पलायन हुनुपर्ने अवस्था आएको हो । यसमा निजी अस्पताल सञ्चालकहरू अझ बढी दोषी छन्,’ उनले भनिन्, ‘एक रात बिरामी राखेको १ लाखसम्म लिने अस्पतालले बीएस्सी गरेका नर्सलाई मासिक १५/१६ हजार मात्रै दिने गर्छन् ।’ उनले उत्पादनको संख्यामा समस्या नभए पनि त्यसको गुणस्तर र उनीहरूले प्राप्त गर्ने अवसरमा भने समस्या रहेको बताइन् ।
एमालेका सचिव एवं सांसद योगेश भट्टराईका अनुसार देशका विभिन्न संस्थाले आ–आफ्नै तरिका र सोचबाट काम गर्ने तर राष्ट्रिय आवश्यकताका बारेमा एकीकृत सोच बनाउन नसक्ने अवस्थाका कारण समस्या भएको बताए । उनका अनुसार देशमा उत्पादित दक्ष स्वास्थ्य जनशक्ति पलायन हुनु गम्भीर विषय भएका कारण यसबारे बृहत् रूपमा छलफल हुन आवश्यक रहेको बताए । ‘विश्व स्वास्थ्य संगठनले तोकेअनुसार प्रतिव्यक्ति कति स्वास्थ्य जनशक्ति हुनुपर्छ र त्यो अवस्थामा हामी कहिले पुग्ने भन्ने विषय एउटा हो,’ उनले भने, ‘अर्को भनेको यहाँ उत्पादन भएका स्वास्थ्य जनशक्ति विदेशमा कति खपत हुन्छन् भन्ने अर्को हो । यो दुवै अवस्थालाई हामीले कसरी सम्बोधन गर्न सक्छौं भनेर सोच्न जरुरी भएको छ ।’ उनले स्वास्थ्य जनशक्ति उत्पादनको क्षेत्रमा सरकार नियन्त्रणमुखीभन्दा पनि राज्यका निकायहरूको प्रयोग गरेर त्यसलाई नियमनमुखी बनाउनुपर्ने पनि बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीका अनुसार नेपालमा उत्पादन भएका चिकित्सकको मात्रै नभएर समग्रमा स्वास्थ्यकर्मी पलायन भइरहेको अवस्थालाई सम्बोधन गर्न जरुरी भएको बताइन् । उनले दक्ष जनशक्ति विदेश जानु नराम्रो नभए पनि त्यो फर्केर आउने वातावरण बनाउन भने चुनौती रहेको बताइन् । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले नेपालका नियमनकारी निकायहरूले राम्रोसँग नियमन गर्न सके धेरै समस्या समाधान हुने दाबी गरे । ‘गुणस्तर कायम गरेर पढाउन सकिन्छ भने छिमेकी देशका विद्यार्थीहरूलाई नेपालमा पढाउन सक्ने वातावरण किन नबनाउने ?’ उनले भने, ‘नियमनकारी निकायले आफूले गुणस्तर नियन्त्रण गर्न नसक्ने अनि संख्या नियन्त्रण गर्नु ठीक भएन ।’ उनका अनुसार दक्ष जनशक्ति उत्पादन गरेर विदेश पठाउन सकिने अवस्था सिर्जना गर्ने बारे सोच्नुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले यस प्रकारको संवादले सरकार तथा सांसदहरूलाई स्वास्थ्य क्षेत्रमा रहेका चुनौतीहरूका बारेमा जान्ने अवसर दिने बताए । उनले अस्पतालले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

अर्थ वाणिज्य

भेडीगोठमा आगलागी

- कान्तिपुर संवाददाता

हुम्ला (कास)– हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउमा रहेको भेडीगोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–८ रादेउका भेडा गोठाला ५५ वर्षीय हर्के ऐडी रहेका छन् । गाउँभन्दा टाढा २ घण्टाको पैदल दूरीमा रहेको कुरिल्ला लेकको भेडीगोठमा बुधबार लागेको आगलागीमा परी ऐडीसहित ६० भेडा पनि मरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । भेडीगोठमा आगो तापिरहेको अवस्थामा हावाहुरी चलेर आगलागी हुँदा ठूलो मात्रामा क्षति भएको निरीक्षक चन्दले बताए ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


एमजी मोटर्सको नयाँ वर्ष अफर
काठमाडौं (कास)– एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले नयाँ वर्ष २०८१ लाई लक्षित गरी ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले ७ लाखसम्मको नगद छुट पाउने बताइएको छ । अफरअन्तर्गत एमजीको ईभी मोडलमा ग्राहकहरूले निःशुल्क टायर, ७ किलोवाटको एसी चार्जर र चालु आर्थिक वर्षको सडक करमा छुटलगायत फाइदा पाउने कम्पनीले जनाएको छ । नेपालमा एमजी ४ ईभी, जेडएस ईभी, कोमेट ईभी गरी ३ विद्युतीय सवारी र हेक्टर, एचएस र एसटर गरी ३ इन्धन/हाइब्रिड सवारीहरू उपलब्ध छन् । यी सबै सवारीहरूमा कम्पनीले फरक–फरक अफर उपलब्ध गराएको छ । यो अफर देशैभरिका एमजी २१ सोरुमहरूमा उपलब्ध हुने बताइएको छ । एमजी सवारीसाधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइनहरू बेलायतका प्रख्यात डिजाइनर तथा इन्जिनियरहरूले गर्छन् ।

यती उडानमा २ वर्षभन्दा मुनिकालाई निःशुल्क
काठमाडौं (कास)– यती एयरलाइन्सले नयाँ वर्ष २०८१ को अवसरमा २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ । ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरूलाई यतीले हवाई भाडा शतप्रतिशत छुट दिने घोषणा गरेको हो । बालबालिकाले जीवनको पहिलो उडानको अनुभव यती एयरलाइन्समार्फत नै गरून् भनेर यो योजना ल्याइएको एयरलाइन्सले जनाएको छ । सुखद उडान यात्राको अनुभव दिन बालबालिकालाई हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यो योजना नेपाली र विदेशी सबै शिशुहरूका लागि वैशाख १ देखि सीमित समयका लागि लागू गरिएको उनले बताए । यो सुविधा लिन अभिभावकहरूले यतीको चेकइन काउन्टरमा आफ्ना बच्चाको जन्मदर्ता अनिवार्य रूपमा देखाउनुपर्ने जनाइएको छ । यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरूका लागि विशेष काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

यूएनडीपी र उर्लाबारी नगरको सहकार्यमा जलवायु परियोजना सुरु
काठमाडौं (कास)– यूएनडीपीको विश्व वातावरण कोष साना अनुदान कार्यक्रम र उर्लाबारी नगरपालिकाको सहकार्यमा ‘स्वाती’ले जलवायु परियोजना सुरु गरेको छ । नमुनाका रूपमा रहने विश्वासका साथ उर्लाबारी नगरपालिकामा कृषि, माटो र वातावरणसम्बन्धी जलवायु परियोजना गत मंगलबार सुरु गरिएको हो । उक्त परियोजना नोभेम्बर २०२३ मा सुरु गरेको उल्लेख गर्दै ‘स्वाती’ की अध्यक्ष संगीता निरौलाले उर्लाबारीको समुदाय, नगरपालिका तथा वडाका अधिकारीहरू तथा अन्य साझेदारसँगको समन्वयमा सचेतना कार्यक्रम र गड्यौले मल उत्पादन तालिम पनि सञ्चालन गरिसकेको बताइन् । यूएनडीपी साना अनुदान कार्यक्रम नेपालका राष्ट्रिय संयोजक विवेकधर शर्माले परियोजनाका लिखित र अलिखित एजेन्डा दुवै पाटोमा स्वातीले उल्लेखनीय काम गरेको बताए । यो परियोजनाले तीन मुख्य विषयहरू माटोको उर्वराशक्ति बचाउन गड्यौले मलको प्रयोग, जलवायुबाट कृषिमा पर्न सक्ने नकारात्मक असरको न्यूनीकरणका निमित्त क्षमता अभिवृद्धि कार्यक्रम र सिसौली फार्ममा अवस्थित ‘सिसौली अध्ययन केन्द्र’ मार्फत परम्परागत कृषि उपकरण र शैलीको प्रवर्द्धनमा काम गर्ने लक्ष्य लिएको छ ।

हायरले ल्यायो नयाँ उपहार
काठमाडौं (कास)– हायरले नयाँ वर्ष २०८१ को अवसरमा आफ्ना ग्राहकलाई थप खुसी बनाउन नयाँ योजना ल्याएको छ । ‘नयाँ रेन्जको नयाँ उत्पादनको खरिदमा हायरको साइड बाइ साइड हायर रेफ्रिजेटर खरिदमा माइक्रो ओभन उपहार पाउने उल्लेख गरिएको छ । डबल डोर रेफ्रिजेटरको खरिदमा महाराजा ह्यान्ड ब्लेन्डरलगायत मिक्स ग्रिन्डरसम्म उपहार पाउने कम्पनीले जनाएको छ । सिंगल डोर रेफ्रिजेटर अनि टप लोड र फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा महाराजा ड्राइ र स्टिम आइरन पाइनेछ । यो योजना हायरको सम्पूर्ण डिलरमा वैशाख १ देखि लागू हुनेछ ।

Page 7
Page 8
खेलकुद

मलेसियासँग जितको संघर्ष

- विनोद पाण्डे

(काठमाडौं)
गुलशन झाले अन्तिम समयमा आक्रामक ब्याटिङ गरेपछि नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । गुलशनले ७ बलमा अविजित १९ रन बनाएपछि नेपालले शुक्रबार ओमानमा सुरु प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्‍यो ।
नेपाललाई अन्तिम ३ ओभरमा ३० रन चाहिने अवस्थामा क्रिजमा आएका गुलशनले १८ औं ओभरमा आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरे । गुलशन र सन्दीप जोराले त्यो ओभरमा १३ रन जोडेका थिए । १९ औं ओभरमा गुलशनले वीरनदीप सिंहको बलमा लगातार चौका र छक्का प्रहार गरे । नेपालले यो ओभरमा पनि १३ रन जोडेको थियो ।
मस्कटस्थित अल अमेरातमा अन्तिम ओभरमा आवश्यक ४ रन २ बलमै बनाएपछि नेपालले १ सय ४४ रनको विजय लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो । जोराले ९ बलमा अविजित १२ रन बनाए । प्लेयर अफ द म्याच भने दीपेन्द्रसिंह ऐरी रहे । उनले ४ ओभरमा २ मेडन राख्दै १४ रनमात्र खर्चेका थिए । डेथ ओभरमा अन्तिम ३ मध्ये २ ओभर बलिङ गर्नेक्रममा उनले ११ रनमात्र दिएका थिए ।
दीपेन्द्रले ब्याटमा पनि ११ बलमा २ चौका र १ छक्का मद्दतमा २० रनको योगदान दिए । नेपालले ब्याटिङमा राम्रो सुरुआत गरे पनि आक्रामक खेल्न सकेन । पावर प्लेको पहिलो ६ ओभरमा ४० रनमात्र बनाउन सकेको नेपालबाट आठौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल आउट भए, जतिखेर नेपालको स्कोर ४९ रन थियो । कुशल भुर्तेलले २४ बल खेल्दै ३ चौका प्रहार गरेर २४ रन नै बनाएर पवनदीपको बलमा एलबीडब्लू आउट भए ।
अर्का ओपनर आसिफ शेखले ३५ बल खेल्दै ४ चौकासहित ३२ रन बनाए । कप्तान रोहित पौडेलले १ छक्का प्रहार गर्दै २४ बलमा २८ रन बनाए । कुशल मल्ल ७ रनमा आउट भए । मलेसियाबाट वीरनदीपले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । वीरनद्धिपले नै मलेसियाबाट सर्वाधिक अविजित ७२ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको १७ औं अर्धशतक हो । ओपनिङ ब्याटर उनले ५७ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरेपछि मलेसियाले टस जित्दै १४३–३ को स्कोर बनाएको थियो । मोहम्मद अमिरले १८ बलमा ३ चौकासहित १६ रन बनाई आउट भएपछि वीरनदीप र सर्भिन मुनिआन्डीले दोस्रो विकेटमा ८२ रनको साझेदारी गरे । मुनिआन्डीले ३३ बल खेल्दै ३ चौका र २ छक्कासहित ४१ रन बनाए । नेपालबाट दीपेन्द्रबाहेक अर्को एक विकेट अविनाश बोहराले लिए । उनले ४ ओभरमा २९ रन खर्चे ।
नेपालले शनिबार कतारसँग खेल्नेछ । कतारलाई अर्को खेलमा हङकङले २६ रनले पराजित गर्‍यो । कप्तान निजाकत खानले ३७ बलमा २ चौका र ४ छक्कासहित ५९ र बाबर हायतले ३९ बलमा ३ चौका र ४ छक्काका साथ ५५ रन बनाएपछि हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १ रन बनायो । सक्लिन अर्शादले ३४ बलमा ५०, कप्तान मोहम्मद तान्भिरले २१ बलमा ४६ र मोहम्मद अनाफले २४ बलमा ३२ रन बनाए पनि कतारले ८ विकेट गुमाई १ सय ७५ रनमात्र बनाउन सक्यो । हङकङका इहसान खानले ४ विकेट लिए ।

रोहितको हजार रन
रोहित पौडेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने नेपालको तेस्रो खेलाडी बनेका छन् । मलेसियाविरुद्धको खेलमा २३ रन बनाएसँगैं रोहितले ट्वान्टी–२० मा आफ्नो १ हजार रन पूरा गरेका थिए । उनले खेलमा कुल २८ रन बनाए । रोहितले ४४औं खेलमा ६ अर्धशतकसहित यो उपलब्धि हात पारेका हुन् ।
दीपेन्द्रसिंह ऐरीले ५९ खेलमा १ हजार ४ सय ९६ र कुशल भुर्तेलले ३८ खेलमा १ हजार ३७ रन बनाइसकेका छन् । दीपेन्द्र र कुशल दुवैले समान एक शतक र ८ अर्धशतक प्रहार गरेका छन् ।

जोगिए ओमान र यूएई
शुक्रबार नै भएको समूह ‘बी’ को खेल भने निकै प्रतिस्पर्धात्मक रह्यो । बलिया प्रतिद्वन्द्वी मानिएका यूएई र ओमान पराजित हुनबाट जोगिए । ओमानले बहराइनलाई ३ रनले पराजित गर्‍यो । अन्तिम बलमा ५ रन आवश्यक हुँदा कुवेतले १ रनमात्र बनाउन सकेको थियो । अकिब इल्यासले ५३ बलमा ६२ र कप्तान जिसन मक्सुदले २५ बलमा अविजित ४५ रन बनाएपछि ओमानले ३ विकेट गुमाई १ सय ७७ रन बनायो । इमरान अलीले ३४ बलमा ५०, हैदर बटले २७ बलमा ४७ र अहमर बिन नासिरले २६ बलमा अविजित ३८ रन बनाए पनि बहराइनले ८ विकेट गुमाई १ सय ७४ रनमात्र बनाउन सक्यो ।
यूएईले कुवेतलाई ७ विकेटले पराजित गर्‍यो । ओपनर क्लिन्टो अन्टोले २३ बलमा ४ चौका र ५ छक्कासहित ५४ रन बनाएपछि कुवेतले ८ विकेट गुमाई १ सय ७८ रन बनाएको थियो । ४ ओभरभित्र २६ रन बनाउँदा ३ विकेट गुमाए पनि यूएईले १५ बलअगाडि नै लक्ष्य पूरा गर्‍यो । अलिसान सराफुले ४८ बल खेली ८ चौका र ५ छक्कासाथ ९० र असिफ खानले ४८ बलमा ४ चौका र ६ छक्कासाथ ७४ रन बनाई यूएईलाई विजयी सुरुआत दिलाए ।

खेलकुद

भलिबल वर्ष खेलाडी चुनिए उषा र रविन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल पुलिस क्लबका खेलाडीद्वय उषा भण्डारी र रविन चन्द भलिबलको उत्कृष्ट वर्ष खेलाडी भएका छन् ।
नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार आयोजना गरेको चौथो एनभीए अवार्डमा पुलिस क्लबको वर्चस्व रहेको थियो । वर्ष खेलाडी भएका उषा र रविनले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।
वर्षका उदीयमान खेलाडी महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रगति नाथ र पुरुषतर्फ एपीएफ क्लबका हेमन्त मल्ल चुनिए । उनीहरूले पनि जनही ५० हजार पाए । वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघका रमेश केसी र महिलातर्फ नेपाल पुलिस क्लबका प्रशिक्षक रुपेशकुमार विष्टले पाए । उनीहरूले जनही ५० हजार पाए ।
राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान तथा पुलिस क्लबका कप्तान इम रानालाई ५० हजार रुपैयाँसहित अभिनन्दन गरिएको थियो ।
भलिबललाई निरन्तर प्रायोजन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकका पूर्वसिइओ किरणकुमार श्रेष्ठलाई पनि अभिनन्दन गरिएको थियो । वर्षको उत्कृष्ट टिम महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ सम्मानित भयो ।
खेलकुद पत्रकार सम्मानबाट हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना ५० हजार रुपैयाँसहित सम्मानित भए ।
नेदरल्यान्ड्स भलिबल संघका अध्यक्ष पिटर स्प्रिङ्गरलाई पनि विशेष सम्मान गरिएको थियो ।
सोही अवसरमा संघले वर्षभर उत्साहजनक काम गर्ने विभाग, जिल्ला, प्रदेश र क्लबहरूलाई पनि सम्मान गरेको थियो ।
संघले एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, संखुवासभा, कञ्चनपुर, सुर्खेत, म्याग्दी, पाल्पा जिल्ला संघ, जावलाखेल भलिबल प्रशिक्षण सेन्टर, ढोरपाटन भलिबल क्लब, टिपटप हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबलाई पनि सम्मान गरेको छ ।
यस्तै किंग्स क्लब, दाँवाली मिलन, केशवलाल स्मृति प्रतिष्ठान, शेरबहादुर स्मृति प्रतिष्ठान, मणिमुकुन्द भलिबल क्लब, न्यु डायमन्ड महिला भलिबल टिम, टाइगर ग्रुप अफ पोखरा र बूढानीलकण्ठ भलिबल क्लबलाई सम्मान गरिएको थियो ।

खेलकुद

दोस्रो जितसँगै पुल्चोक शीर्षमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सलिल ढकालले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोल मद्दतमा पुल्चोकले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा शुक्रबार स्वयम्भू क्लबलाई २–१ ले पराजित गरेको छ । पुल्चोकको यो लगातार दोस्रो जित हो । टोलीको ६ अंक भएको छ । यससँगै पुल्चोक तालिकाको शीर्षस्थानमा उक्लेको छ ।
समान ६ अंकमा आरसी ३२ दोस्रो स्थानमा रह्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुल्चोकले स्यारव लो तामाङको गोलले तेस्रो मिनेटमै अग्रता लिएको थियो । स्वयम्भूबाट २० औं मिनेटमा सग्रित मगरले गोल गर्दै खेल बराबरीमा ल्याए । हारले स्वयम्भू १ अंकमै सीमित रह्यो ।
शुक्रबारै अर्को खेलमा सोसियल वेलफेयर र रानीबारीले गोलरहित बराबरी खेलेका छन् । यो नतिजापछि सोसियलको ४ अंक भएको छ । टोली तेस्रो स्थानमा उक्लेको छ । रानीबारीको भने यो लगातार दोस्रो बराबरी हो । टोलीको खातामा २ अंक छ । आइतबार दोस्रो चरणको अन्तिम दुई खेलमा साँगाले मनोहरा र गोलबजारले झम्सिखेलको सामना गर्नेछन् ।

खेलकुद

मछिन्द्र उपाधि नजिक

- लक्ष्मी साह

(बारा)
सिमरा रंगशालामा मछिन्द्र फुटबल क्लबले शुक्रबार जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटलबको फाइनलमा स्थान बनाएको छ ।
शुक्रबार राति सिमरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई २–० ले हराएर मछिन्द्र उपाधि दाबेदार बनेको हो ।
मछिन्द्रले अब उपाधिका लागि एपीएफ र पुलिसबीच शनिबार हुने विभागीय डर्बी विजेतासँग खेल्नेछ ।
मछिन्द्रको जितमा विमल घर्तीमगर र देवेन्द्र तामाङले गोल गरेका थिए । मछिन्द्रले दुवै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेलको ३० औं मिनटमा विमलको गोलमार्फत मछिन्द्रले अग्रता बनाएको थियो । बक्स बाहिरबाट छिरिङ गुरुङले उपलब्ध गराएको पासलाई विमलले नियन्त्रणमा लिँदै सानदार गोल गर ।
पहिलो हाफको इन्ज्युरी समयमा देवेन्द्रले गोल थप्दै मछिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुङको कर्नरमा देवेन्द्रले हेडिङमार्फत गोल गरेका थिए ।
राष्ट्रिय टोलीका अनुभवी खेलाडीहरूसहित मैदान उत्रिएको मछिन्द्रसामु सिरहाका खेलाडी दबाबमा देखिन्थे । पहिलो हाफमा मच्छिन्द्रविरुद्ध आक्रामक खेल खेले पनि मछिन्द्रको अग्रतापछि सिरहाका खेलाडी लयमा देखिएनन् । विमल, मनीष डाँगीजस्ता खेलाडीसहित उत्रिएको मछिन्द्र उच्च मनोबलमा देखिन्थ्यो ।
पहिलो हाफमै अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो । सिरहाले दोस्रो हाफमा आकर्षक अवसर बनाउन सकेन । मछिन्द्र पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको हो ।
म्यान अफ द म्याच मछिन्द्रका विमल घर्तीमगर घोषित भए । उनले शुभारम्भ कलेज म्यान अफ द म्याच ट्रफीसहित १० हजार प्राप्त गरे ।
त्यसअघि शुक्रबार बिहान अघिल्लो दिन तीव्र हावाहुरीका कारण स्थगित क्वाटरफाइनल खेलमा एपीएफ क्लब विजयी भयो ।
एपीएफले फ्रेन्ड्स क्लबविरुद्ध २–० को जित पायो । निर्धारित समयको बाँकी ३२ मिनेटको खेलमा एपीएफ विजयी भएको हो ।
अघिल्लो फ्लडलाइटमा एपीएफ र फ्रेन्डसबीच खेल चलिरहेका बेला हावाहुरी चलेपछि ५८ मिनेटपछिको खेल स्थगित गरी बाँकी समय शुक्रबार खेलाउने निर्णय गरिएको थियो । खेल स्थगित हुँदा गोलविहीन थियो ।
५८ औं मिनेटबाट पुनः सुरु भएको खेलको ७३ औं मिनेटमा एपीएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । अनिश महर्जको पासमा बुद्धिमानले बक्सबाहिरबाटै कडा प्रहार गरेको बल गोलमा परिणत भयो । फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै मौकै पाएनन् ।
१–० ले पछि परेको फ्रेन्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपीएफले अग्रता दोब्बर बनायो । एपीएफका अनिश महर्जनको प्रहार क्लियर गर्न खोज्दा बल अनन्तको खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको म्यान अफ द म्याच एपीएफका बुद्धिमान राई भए । उनले शुभारम्भ कलेजद्वारा प्रायोजित १० हजारसहित ट्रफी पाए ।

खेलकुद

गण्डकी र वाग्मतीलाई स्वर्ण

- कान्तिपुर संवाददाता


चितवन (कास)– गण्डकी र वाग्मती प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि जितेका छन् । गण्डकी पुरुष र वाग्मती महिलामा च्याम्पियन भयो । पुरुष फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२, २५–१८ को सोझो सेटमा हरायो । सुदूरपश्चिम तेस्रो भयो ।
महिलाको फाइनलमा वाग्मतीले गण्डकीलाई २५–२१, २५–१२, २५–८ को सेटमा हरायो । लुम्बिनी प्रदेश तेस्रो बन्यो ।
कोशी र सुदूरपश्चिम भिड्ने
महिला फुटबलको उपाधिका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार दोस्रो सेमिफाइनलमा कर्णाली प्रदेशलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै सुदूरपश्चिमले फाइनल पुग्यो । निर्धारित समय बराबरी भएपछि पेनाल्टी शुटआउटमार्फत निर्णय गरिएको थियो ।
सुदूरपश्चिमका अञ्जली चन्द, गंगा रोकाया र अस्मिता चौधरीले गोल गरे । कर्णालीबाट हिमा रावल र भूमिका बुढाथोकीले गोल गरे ।
कोशीले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई २–० गोलले हराएको थियो । फाइनल शनिबार हुनेछ ।

मधेस फाइनलमा
पुरुष क्रिकेटमा मधेश प्रदेश शुक्रबार फाइनल पुगेको छ । दोस्रो सेमिफाइनलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो । भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १ सय ४६ रनको लक्ष्य मधेसले १७.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

खेलकुद

सद्भाव, जयवीर र आइस्टिना छनोट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनललाई स्थान बनाएका छन् ।
उनीहरूले भियतनाम र स्पेनमा हुने फाल्डो सिरिज एसिया फाइनल खेल्नेछन् ।
सद्भाव समग्रमा १ अन्डर २ सय ३ स्कोरसहित १७–२१ वर्ष उमेर समूह र समग्र च्याम्पियनसिपको उपाधि जित्न सफल भए । उनले शुक्रबार १ अन्डर ६७ मा खेल सक्दै संसार बिकेलाई ३१ स्ट्रोकले पछाडि पारे । प्रो गल्फरलाई समेत माथ दिँदै आएका सद्भावलाई यस प्रतियोगितामा अन्य गल्फरले चुनौती दिन सकेनन् ।
अन्तिम १८ होलको खेल सुरु गर्दा सद्भावसँग १७ स्ट्रोकको अग्रता थियो । उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा तेस्रो र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सके । यसपछि १०, ११ र १४ औं होलमा एक–एक शट बचाए । ३ पारको १७ औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन १ अन्डर ३३ मा पूरा गरे ।
चार वर्षअघि सद्भाव १२–१६ वर्षको उमेर समूहमा छनोट भए पनि कोभिडको कारण सहभागिता जनाउन पाएका थिएनन् ।
१३ ओभर ८१ को स्कोर दर्ज गर्दै समग्रमा ३० ओभर २ सय ३४ सहित पोखराका संसार शिके दोस्रो भए । शुक्रबार १० ओभर ७८ को स्कोरसहित समग्रमा ३३ ओभर २ सय ३७ सहित स्वप्निल भट्टराई तेस्रो भए ।
१२–१६ वर्ष उमेर समूहमा जयवीरले शुक्रबार ५ ओभर ७३ स्कोर गरे । समग्रमा ४९ ओभर २ सय ५३ सहित उपाधि जिते । अन्तिम १८ होलको सुरुवात गर्दा जयवीर लिडर सिद्धान्त सापकोटाभन्दा ९ स्ट्रोकले पछि थिए । तर शुक्रबार ५ ओभरको स्कोरमा सोहम अग्रवाललाई ४ स्ट्रोकले हराउँदै उनी पहिलो भए । उनी अन्तराष्ट्रिय प्रतियोगितालाई पहिलो पटक छनोट भए ।
समग्रमा ५३ ओभर २ सय ५७ सहित सोहम दोस्रो भए । समग्रमा ५५ ओभर २ सय ५९ सहित सिद्धान्त तेस्रो भए ।
महिलातर्फ अवानी राईलाई १ स्ट्रोकले हराएर आइस्टिना पहिलो भइन् । उनले शुक्रबार २१ ओभर ८९ को प्रदर्शन गर्दा समग्रमा ६० ओभर २ सय ६४ सहित उपाधि जित्न सफल भइन् । उनले फ्रन्टनाइन ६ ओभर ४० र ब्याकनाइन १५ ओभर ४९ मा सकिन् । समग्रमा ६१ ओभर २ सय ६५ स्कोरमा अवानी दोस्रो भइन् । अनभद्या मल्ल तेस्रो भइन् ।
नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा ३१ खेलाडीको सहभागिता थियो ।

खेलकुद

प्लानिङ ब्वाइजको ह्याट्रिक उपाधि

- अर्जुन सुवेदी

(सुनसरी)
काठमाडौंको प्लानिङ ब्वाइज युनियनले सातौं आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा बिर्तामोड न्युस्टार क्लब झापालाई २–१ ले पराजित गर्दै प्लानिङ ब्वाइजले तेस्रो पटक उपधि जित्दै ह्याटिक गरेको हो ।
प्लानिङ ब्वाइजले यसअघि पाँचौ र छैटौं संस्करण जितेको थियो । सुनसरीको बराहक्षेत्र ५ मा शनिबार सम्पन्न फाइनलमा प्लानिङ ब्वाइजलाई उपाधि जिताउन बिदेशी खेलाडी सन र फागुराम थारुले गोल गरे । बिर्तामोडका यामीले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको तेस्रो मिनेटमा प्लानिङ ब्वाइजका सनले गोल गरेर टिमलाई अग्रता दिलाए । तर अग्रता १४ मिनेटमै तोडियो । दोस्रो हाफको १७ औं मिनेटमा बिर्तामोडका विदेशी खेलाडी यामीले गोल गरेर खेल बराबरीमा ल्याए । दोस्रो हाफको २३ औं मिनेटमा फागुरामले निर्णायक गोल गरेपछि प्लानिङ ब्वाइजले उपाधि जितेको हो । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ जिते ।
म्यान अफ द म्याच प्लानिङ ब्वाइजका सन चुनिए । उनले ५ हजार पुरस्कार पाए । गोलकिपरमा प्लानिङ ब्वाइजका लोकेश चौधरी, डिफेन्डरमा आयोजक न्युस्टारका रुपेश भुजेल, मिडफिल्डरमा बिर्तामोडका सुशील राई, फरवार्डमा प्लानिङ ब्वाइजका प्रताप राई, प्रशिक्षकमा प्लानिङ ब्वाइजका सचिन्द्र धिमाल उत्कृष्ट भए । उनी सबैले जनही १० हजार पुरस्कार पाए ।
सर्वोत्कृट खेलाडी बिर्तामोडका अशोक खवास घोषित भए । उनले २५ हजार पाए । विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले, बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी राईलगायतले पुरस्कृत गरे ।

Page 9
कोसेली

के नेपाली भाषा मर्छ ? सायद !

- वसन्त थापा

 


द्याट्स अनफेयर
यु आर हर्टिङ मी
यु आर अ लायर । अ चिट
माइ हेड हर्ट्स
आइ एम फेड अप । आइ एम बोर्ड
इट्स हट, आइ कान्ट ह्यान्डल इट
द्याट गाइ इज फन्नी । लाउजी

अंग्रेजी भाषाका यी यस्ता अभिव्यक्तिहरू हुन्, जसलाई सही अर्थ र सही ठाउँमा व्यक्त गर्न मलाई घटीमा बीस वर्ष लागेको थियो– मैले स्कुलमा ए, बी, सी, डी कनी–कनी सिकेदेखि ।
तर, यी अभिव्यक्तिहरू आठ वर्षको मेरो नाति र पाँच वर्षकी मेरी नातिनीबीच आपस्तमा चल्ने वार्तालापका केही नमुना हुन् । नाति केटो दुई क्लासको विद्यार्थी हो भने नातिनी केजी क्लासमा जान्छे, एक क्लासमा पनि नपुगेकी । उनीहरू आफूबीच मात्रै होइन, उनीहरूले भेट्ने आफ्ना उमेर र दाँवलका केटाकेटीसँग पनि सकेसम्म अंग्रेजीमै वार्तालाप गर्छन् ।
म जुन पुस्ताको प्रतिनिधित्व गर्छु, त्यस पुस्तामा स्कुल थोरै थिए, स्कुलमा पढ्न जाने झनै थोरै थिए र प्रि–स्कुल वा प्ले–ग्रुप भन्ने कुन चराको नाउँ हो ? त्यो कसैलाई थाहा थिएन । अचेलभरि टुकुटुकु हिँड्ने र बोली फुट्नासाथ केटाकेटीहरू प्ले–ग्रुप वा प्रि–स्कुल र नर्सरी क्लासमा जान्छन्, जहाँ उनीहरू क, ख, ग सिक्नुभन्दा पहिले अंग्रेजीका ए, बी, सी सिक्छन् ।
सायद हामीलाई पढाउने गुरुहरूको क्षमता र सामर्थ्यमै कमी थियो, जसले गर्दा उनीहरू रटाउँथे विद्यार्थीलाई । घोकन्ते विद्या थियो हाम्रा पालामा । सी ए टी क्याट र आर ए टी र्‍याट भन्ने रटाइबाट सुरु भयो हाम्रो अंग्रेजी भाषाको सिकाइ ।
त्यो हेरी हिजोआजका बच्चा औपचारिक तवरमा एक कक्षामा पनि नटेक्दै अंग्रेजीमा एकसरो कुरा गर्ने भइसक्छन् । उनीहरूले प्रि–स्कुलदेखि नै अंग्रेजी सिक्छन् प्रथम भाषाका रूपमा । त्यही हुनाले उनीहरूको उच्चारण पनि खोट लाउनुपर्ने खालको हुँदैन र उनीहरूको शरीरको भावभंगिमा पनि बोलाइ अनुसारकै हुने गर्छ । लाग्छ, भाषाले बोकेको अवधारणा पनि उनीहरूले बुझेका छन् । ‘फेयर’ र ‘अनफेयर’ भनेको के हो ? त्यसको अवधारणाबारे हाम्रो पुस्ताका विद्यार्थीलाई के थाहा ? ‘बोर’ हुनु भनेको के हो ? हामीले त टाउको दुख्दा ‘हेड्याक’ (अझ कोही कोही र ‘हेड्याच’ भन्थे) भन्ने मात्र सिकेका थियौं । यसरी ‘माइ हेड हर्ट्स’ भनेर कसैले सिकाएकै थिएन । हामीले त ‘हट’ भनेको तातो भनेर मात्र बुझेका थियौं । अहिलेका केटाकेटी खानाको सन्दर्भमा छ भने ‘हट’ भन्नाले पिरो भनी बुझ्छन् । ‘गाई’ भनेर उनीहरू मानिसलाई इंगित गरिरहेका हुन्छन् । हामीलाई त गाई भनेको दूध दिने चारखुट्टे पशु हो भन्ने मात्र थाहा थियो ।
साना केटाकेटीहरूले स्कुलमा मात्र सिकेका होइनन् अंग्रेजी । केटाकेटीका आमाबाबु नै उनीहरूलाई घरमा अंग्रेजी बोल्न प्रोत्साहित गर्छन् । आफ्ना छोराछोरीहरू अंग्रेजी बोल्नमा पारंगत होउन् भन्ने चाहना राख्छन् हरेक शिक्षित सहरी मध्यमवित्तीय तरुना आमाबाबुहरू । त्यसैले ससाना छोराछोरीलाई ‘नो नो’, ‘कम’, ‘गो’, ‘सिट डाउन’ भनेर आदेश दिइरहेका र ‘वेल डन’ भन्दै हौस्याइरहेका हुन्छन् । ‘बेबी’ भन्छन् आफ्ना साना छोरा वा छोरीलाई– कताको नानु, कताको बाबु ! रेस्टुराँ, सार्वजनिक उद्यान, पार्क, सिनेमाघर, दुकान र सपिङ मल सर्वत्र यो दृश्य देख्न सकिन्छ । आफ्ना छोराछोरीले अंग्रेजी बुझेको, अझ अंग्रेजी भाषामै जवाफ फर्काएको जोरीपारीलाई देखाउन पाउँदा उनीहरू गर्वानुभूति पनि गर्छन् सायद ।
अंग्रेजी जस्तो व्यापक प्रभाव भएको अन्तर्राष्ट्रिय भाषा सिक्नु/सिकाउनु बिल्कुल नराम्रो होइन । अंग्रेजी मात्र किन, जुनसुकै अन्तर्राष्ट्रिय भाषा सिक्नु राम्रो हो, तर आफूले घर–परिवारमा बोल्ने भाषालाई लत्याएर होइन । अहिले अंग्रेजी सिकाइमाथि अत्यधिक जोड दिइएको छ, आफूले घर–परिवार र व्यवहारमा रातोदिन बोल्ने नेपाली भाषाको तुलनामा ।
त्यसको परिणाम के भएको छ भने पहिले–पहिले गणित विषयमा स्कुले केटाकेटीहरू ट्युसन पढ्थे, अहिले नेपाली विषयमा घरमा ट्युसन पढ्ने भएका छन् । उनीहरूलाई नेपालीमा ट्युसन पढ्न लगाउने आमाबाबुहरूको आफ्नै नेपाली पनि गतिलो हुँदैन । बोलीचालीमा त ठिकै छ, तर लेख्य नेपाली अघिल्तिर आउनासाथ उनीहरू अकमकिन्छन् र अनभिज्ञता प्रकट गर्छन् ।
वास्तवमा नेपालीहरूको बोलीचालीमा अंग्रेजीको छ्यासछ्यास्ती प्रयोग हिजोआज यस्तरी बढेको छ कि सुन्नेलाई अंग्रेजी नै बोलिरहेको हो कि भन्ने लाग्न सक्छ । त्यसको उदाहरण फेला पार्न धेरै दुःख गरिरहनु पर्दैन कुनै पनि एफ.एम. रेडियोमा बोलिने भाषा सुने पुग्छ । मोबाइल फोन र इन्टरनेटजस्ता अत्याधुनिक सञ्चार प्रविधिले गर्दा त झन् के साक्षर के निरक्षर, सबैजना कुराकानीमा अंग्रेजी शब्द सजिलै मिसाउँछन् । मोबाइल फोन चलाउने जोकोही नेट, वाइफाई, टावर, मिसकल, रिंगटोन, डिलिट, सेभ, मेमोरी, साउन्ड, डायलटोन, रिचार्ज, भाइबर, ह्वाट्स एप नभनी बस्न सक्दैन ।
शिक्षित र पढालेखाहरूको त कुरै बेग्लै । बातबातमा अंग्रेजी शब्द ओकल्नु उनीहरूको आदत भइसकेको छ । जति धेरै अंग्रेजी शब्द प्रयोग गर्न सक्यो उति नै धेरै जान्ने र विद्वान् । अंग्रेजी शब्द त्यसरी उपयोग
गर्न नसक्नेलाई त पाखे र गोख्ते ठहरिने डर हुन्छ ।
आफ्नो ज्ञान ओघार्नलाई पनि मानिसहरू अंग्रेजी शब्दहरूको सहारा लिइरहेका हुन्छन् । अझ आफ्नो भनाइलाई थप जोड दिनलाई अंग्रेजीमै बोलेर ‘यु नो ह्वाट आइ मिन’ भन्ने गर्छन् । ‘मेरो नेपाली त्यति राम्रो छैन’ भनेर दुई कुम उचाल्ने विद्वान्हरूको कमी छैन हामीकहाँ । त्यसो भनेर उनीहरू मेरो अंग्रेजीचाहिँ भयंकर छ वा म अंग्रेजीमा चाहिँ निपुण छु भन्न खोजिरहेका हुन्छन् ।
जुन भाषामा घर–परिवार तथा बृहत्तर समाजमा वार्तालाप गर्छन्, छलफल गर्छन्, तर्क र बहस गर्छन्, परेमा गीत, कविता वा कथा लेखेर आफ्नो भाव प्रकट गर्छन् त्यही भाषालाई यति बेवास्ता र अवमूल्यन गर्ने नेपालीबाहेक संसारमा सायदै अरू जाति होलान् ।
भाषाले जनजनको जीवनमा कति अहम् भूमिका खेल्छ भन्ने कुरा बंगलादेश नामको राष्ट्रको जन्मले सिद्ध गरेको छ । धर्मका कारण साविकको इन्डियासित अलग्गिएर (पहिले पूर्वी बंगाल र पछि) पूर्वी पाकिस्तान बनेको त्यो मुलुक आखिर पश्चिम पाकिस्तानसित लडाइँ गर्दै बंगलादेश भएर अलग्गियो । त्यसको एउटा प्रमुख कारण भाषा थियो । उर्दु भाषालाई जोड दिने पश्चिम पाकिस्तानको तुलनामा पूर्वी पाकिस्तानका बासिन्दाले बंगाली भाषामा आफ्नो विशिष्ट पहिचान बनाउने बाटो रोजे ।
मौजुदा संविधान अनुरूप नेपाली भाषा अहिले राष्ट्रभाषाको स्थानमा छैन, जुन स्थानमा पहिले रहने गरेको थियो । राष्ट्रभाषा वा राष्ट्रिय भाषा जे विशेषण दिए पनि नेपाली भाषाको महिमा घट्दैन र यसको व्यावहारिक महत्ता पनि कम हुँदैन । यसले सरकारी कामकाजी भाषाको मान्यता पाएकै छ र तथ्यांकले यसलाई मुलुकको पचास प्रतिशतभन्दा कम मानिसको मातृभाषा भनेर देखाए पनि असलमा यसलाई प्रथम भाषाका रूपमा उपयोग गर्नेहरूको संख्या कता हो कता बढी छ । नेपाली भाषा बिल्कुल नबुझ्ने र नबोलिने ठाउँ सायदै होला, आजको नेपाल सरहदभित्र ।
नेपाली समाजलाई एक सय तेईस भाषा बोलिने बहुभाषिक समाजका रूपमा चित्रण गरिन्छ । मौजुदा संविधानले त नेपाली जनतालाई नश्लीय, भौगोलिक र वर्णका आधारमा खस–आर्य, जनजाति, दलित, मधेशी र सुदूर पश्चिमका बासिन्दाको अलग–अलग कित्तामा विभक्त गरेको छ । संयुक्त राज्य अमेरिकाको संविधान ‘वि, द पिपल अफ अमेरिका’ भन्ने वाक्यबाट सुरु भएको मानिन्छ । तर, संविधानका कारण नेपालीले ‘वि, द पिपल अफ नेपाल’ नभनी ‘हामी खस–आर्य नेपाली’, ‘हामी जनजाति नेपाली’, ‘हामी दलित नेपाली’, ‘हामी मधेशी नेपाली’ भन्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाली समाजलाई यसप्रकार खण्डखण्डमा कानुनी रूपमा पछिल्लो पटक कित्ताकाट गर्ने काम यसभन्दा अघि जंगबहादुर राणाका पालामा भएको थियो । यसरी कित्ताकित्तामा विभक्त नेपाली समाज र जनतालाई एकै ठाउँमा बाँधिराख्ने कुनै सूत्र बाँकी छ र पछि पनि रहनेछ भने त्यो नेपाली भाषा नै हो । जुनसुकै कित्ताभित्रका भए पनि उनीहरूलाई नेपाली भनेर चिनाउने आधार नेपाली भाषा नै हुनेछ ।
तर, यसप्रकार समग्र नेपाली राष्ट्रलाई चिनाउने, एउटै धागोमा उनिराख्ने नेपाली पहिचानको सबल आधार नेपाली भाषालाई स्याहार्ने, गोडमेल गर्ने, यसलाई समृद्ध र समुन्नत स्थानमा पुर्‍याउने जुन मिहिनेत तथा प्रयास हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । बरु यसप्रति होचोहेला, अवहेलना र बेवास्ता भएको छ ।
पहिलो कुरा त, मानक नेपाली भाषा के हो ? त्यो कुरा नै निर्धारण हुन सकेको छैन । त्यो किन पनि भएको छैन भने मानक नेपाली व्याकरणको निर्माण नै अधकल्चो अवस्थामा छ । हामीकहाँ विद्वान् भाषाशास्त्री र वैयाकरणहरूको कमी भएर त्यसो भएको होइन । तर, विद्वान्हरूबीच भाषाउपर मतैक्य नहुनाले यो अवस्था सिर्जना हुन गएको हो । हरेक विद्वान् व्याकरणविद्का आफ्नै सिद्धान्त र अडान छन्, आफ्नै ढिपी र रटान छन्, जसको मारमा परेको छ बबुरो नेपाली भाषा । कोही तालव्य ‘श’ ठीक भन्छन्, कोही दन्त्य ‘स’ सही भन्छन् । कोही शब्द या पद जोड्नुपर्छ भन्छन् कोही फुटाउनुपर्छ भन्छन् । कोही संयुक्त शब्दको एक थरी ढाँचा देखाउँछन्, कोही अर्को थरी ढाँचा । कोही एउटा हिज्जेमा जोड दिन्छन् कोही अर्को वर्तनीमा । यसले भाषालाई
कचल्ट्याउने र प्रयोगकर्तालाई अल्मल्याउने काम मात्रै गर्छ, सोझो बाटो हिँडाएर हुर्काउने होइन ।
अहिले नेपाली भाषाको अवस्था वा दुरवस्था हेर्दा यो यस्तो टुँडिखेल बनेको देखिन्छ, जहाँ आएर कबड्डी, डन्डिबियो, फुटबल, भलिबल, क्रिकेट, कुस्ती, बक्सिङ, जसलाई जे मन लाग्यो त्यही खेल खेले हुन्छ । जस्तो नाच पनि नाचे हुन्छ । यहाँ मार्गदर्शक, सचेतक, नियामकको कार्य गर्ने कुनै निकाय छैन ।
कसैले गलत तरिकाले प्रयोग गरेको शब्द वा शब्दावलीलाई अज्ञानतावश रोचक वा सही ठानेर सुनिने, देखिने र पढिने सार्वजनिक सञ्चारका तीनै थरी माध्यमले अर्थ सन्दर्भलाई नबुझी प्रसार गरिदिन्छन् अनि त्यस्तो गल्तीले व्यापकता पाउँछ । मिडियाको अनुसरण गर्दै जनसाधारणले त्यही टिप्छन् । सय चोटि दोहोर्‍याएमा झूट पनि सत्य सावित हुन्छ भन्ने कहावत् नै छ । अहिले हामीकहाँ त्यही भइरहेको छ । भाषालाई विकलाङ्ग र विकृत तुल्याउने काम थाहै नपाई भइरहेको छ । भाषाबारे कटमेरो ज्ञान भएको कसैले एउटा गुलछर्रा उडाइदिन्छ र अरू त्यसको पछि लाग्छन् । त्यो व्याकरणसम्मत नहुन सक्छ, त्यो शिष्ट परम्परा विपरीत हुन सक्छ, त्यसको कसैलाई मतलब छैन ।
त्यस्ता गलत अभ्यास र प्रयोगलाई औंल्याइदिने, त्यसबारे खबरदारी गर्ने कुनै नियमनकारी निकाय अहिलेको अवस्थामा रहेको देखिँदैन । आफ्नो बेलामा नेपाली भाषा प्रकाशिनी समिति र नेपाली भाषानुवाद परिषद्ले गरे जति गर्ने निकाय पनि भइदिएनन्, जसलाई दुर्भाग्यपूर्ण मान्नुपर्छ ।
हलन्तविरोधी अभियान र सन् १९५० को मध्यतिर संस्कृतनिष्ठ र हिन्दीमुखी मार्गमा हिँड्नबाट नेपाली भाषालाई जोगाउन चलेको झर्रोवादी अभियानपछि भाषा सुधार र संवर्द्धनका लागि चालिएको फेरि अर्को बलियो अभियान देखा परेन भन्दा फरक नपर्ला । नेपाली भाषालाई कसरी समयअनुरूप आधुनिक र वैज्ञानिक तरिकाबाट सरल र सुललित बनाउनुका साथै ज्ञान, दर्शन, विज्ञान, साहित्यको उच्च सोपानमा पुर्‍याउने सबल र सशक्त माध्यमका रूपमा विकसित गर्ने भनेर गम्भीर प्रयास अझै हुन सकेको छैन ।
हिन्दी भाषाकै उदाहरण लिने हो भने पनि उनीहरूले एकताका अंग्रेजी भाषाकै शैलीमा विराम
चिह्नलाई विन्दु अथवा ‘फुल स्टप’ दिने अभ्यास थालेका थिए । त्यो अभ्यास सर्वप्रचलित हुन सकेन, यद्यपि केही राष्ट्रिय संस्थानहरूले भने आफ्ना प्रकाशनमा विन्दुलाई नै विराम चिह्न मान्ने अभ्यास जारी राखेका छन् । उनीहरूले इस्वी संवत्लाई नै आधिकारिक मानेर त्यसलाई दैनन्दिन व्यवहारमा चलाउने गरेका छन् । अनि अंकको हकमा देवनागरी अंकलाई नअँगाली अंग्रेजीमा लेखिने अंकलाई नै लेख्य स्वरूपमा अँगालेका छन् । त्यो भाषालाई व्यावहारिक बनाउने उनीहरूको प्रयास हो । त्यसबाहेक अंग्रेजी भाषाका यावत् प्राविधिक र पारिभाषिक शब्दहरूलाई हिन्दीमा ल्याउनका लागि सन् १९६० को दशकमै केन्द्रीय आयोग गठन गरेर त्यो काम पूरा गरे । उनीहरूको केन्द्रीय हिन्दी निर्देशनालय छ, त्यसअन्तर्गत मानक हिन्दी समिति छ । तिनको काम हिन्दी भाषाको संवर्द्धन र प्रवर्द्धन राष्ट्रिय रूपमा गर्नु हो । सबैलाई थाहा भएकै कुरा हो, इन्डियाका धेरै प्रान्त भाषाकै आधारमा खडा भएका छन् र बाइस वटा त संविधानमा अनुसूचित भाषाहरू नै छन् । उनीहरूकहाँ सात सय जति भाषा अस्तित्वमा रहेको बताइन्छ । यसका बाबजुद अंग्रेजी भाषालाई अखिल भारतीय सम्पर्क भाषाका ठाउँबाट विस्थापित गरेर त्यस ठाउँमा हिन्दी भाषालाई स्थापित गर्ने उम्मेदले उनीहरूले हिन्दीको प्रयोगलाई अघि बढाइराखेका छन् ।
सबैलाई सम्झना भएकै कुरा हो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा हिन्दी भाषामै भाषण गरेको अनि उनको भाषणले नेपाली सांसदहरूबाट तुमुल ताली पाएको । संसद्मा नेपाली भाषाको दोभाषे राखेर उनको भाषण नेपालीमा अनुवाद गराउने आवश्यकता हामीले महसुस गरेनौं । यसले हिन्दी भाषाको बढ्दो विस्तार र प्रभावलाई देखाउँछ । हिजोआज त हिन्दी भाषाकै माध्यमबाट चिकित्साशास्त्रको अध्ययन गराउने कुरासमेत गर्न थालेका छन् । यस कुरामा उनीहरू कति सफल हुन्छन् त्यो समयले देखाउने कुरा हो । तर, हिन्दीभाषीहरू त्यस हदसम्मको महत्त्वाकांक्षा राख्ने भइसकेका छन्, त्योचाहिँ महत्त्वको कुरा हो ।
भारतभन्दा अलिक पर्तिर गएर हेर्ने हो भने थाइल्यान्डमा देखिन्छ, त्यहाँका निवासीको आफ्नो भाषाप्रतिको जोड, पकड र एकाग्र समर्पण । विश्वकै पर्यटकीय मानचित्रमा महत्त्वपूर्ण स्थान ओगट्ने थाइल्यान्डले बर्सेनि बीस, तीस लाख नभई करोडौं विदेशी पर्यटकलाई भित्र्याउने हैसियत राख्दछ । कोभिड महाव्याधि अगाडि चार करोड पर्यटकले थाइल्यान्ड भ्रमण गरेको तथ्यांकले बताउँछ । नेपालकै चाल हुँदो हो त त्यहाँका सहर–बजार तथा गल्ली–गल्छेडामा अंग्रेजी भाषाका साइनबोर्डहरू भरमार हुने थिए होलान् । तर, एकदमै नगण्य पाइन्छन् अंग्रेजीमा लेखिएका साइनबोर्ड र अन्य सूचनाहरू । बहुराष्ट्रिय कम्पनी र अन्य केही संस्थाका बाहेक अंग्रेजीका साइनबोर्डहरू विरलै भेटिन्छन् । जतिसुकै पढेलेखेका किन नहुन्, एकअर्कासित अंग्रेजीमा बोल्दैनन् थाईहरू । ती अन्तर्राष्ट्रिय निकायमा काम गर्ने हुन सक्छन्, पर्यटन व्यवसायमा लागेका हुन सक्छन्, अंग्रेजीमै लेख्ने पत्रकार, लेखक वा धुरन्धर विद्वान् हुन सक्छन् । वास्तवमा सामाजिक दृष्टिले एक जना थाईले अर्को थाईसित अंग्रेजी बोल्नुलाई उनीहरू ननिको मान्छन् ।
बाल्कन प्रायःद्वीपको एउटा सानो देश स्लोभेनियामा मैले गरेको अनुभवलाई पनि यहाँ सुनाउनु उपयुक्त होला ।
साविकको संघीय कम्युनिस्ट राष्ट्र युगोस्लोभाकिया फुटेर बनेको बीस लाख चानचुन जनसंख्या भएको मुलुक हो– स्लोभेनिया । त्यस देशको राजधानी लुबियानामा आयोजित माउन्टेन फिल्म फेस्टिभलमा भाग लिन पुगेको थिएँ म एक पटक । थाइल्यान्ड हेरी त्यहाँका मानिससित अंग्रेजीमा वार्ता गर्न त्यतिविधि समस्या हुँदैन । त्यहाँ प्रदर्शित अंग्रेजीलगायत विदेशी भाषाका फिल्महरूमा बोलिएका कुरालाई बुझाउन चित्रपटको तलतिर स्लोभेनियाली भाषामा ‘सब–टाइटल’ दिइएको या फिल्मको विवरण स्लोभेनियाली भाषामा ‘भ्वाइस ओभर’ गरिएको पाएँ । यदि फिल्मको मूल भाषा अंग्रेजी नभएर अरू नै भाषामा भए आफू जिल्लाराम पर्ने अवस्था थियो । किनभने फ्रेञ्च, स्पेनी वा जर्मन भाषाको फिल्म भए आफूले बुझ्ने कुरा भएन । ‘सब टाइटल’ वा ‘भ्वाइस ओभर’ को भर परौं भने त्यो हुन्थ्यो स्लोभेनियाली भाषामा । त्यसैले मैले फेस्टिभलका आयोजकलाई ‘तिमीकहाँ अंग्रेजी बुझ्नेहरू प्रशस्त हुँदाहुँदै स्लोभेनियाली भाषामा सबटाइटल दिने खर्चिलो र झन्झटिलो काम किन गरेको’ भनी सोधेको थिएँ मैले । उनले जवाफमा सरकारी नियम अनुसार स्लोभेनियाली भाषाको प्रयोग गर्नु अनिवार्य भएकाले त्यसो गर्नुपरेको बताए । एउटा सानो देशले आफ्नो भाषाको संरक्षणका लागि गरेको एउटा उदाहरण हो यो । सरकारी नियम भए पनि, नभए पनि अंग्रेजीइतर भाषा बोल्ने सबै युरोपेली मुलुकहरूको यही अभ्यास व्यवहारमा देखिएको छ– फिल्मको ‘सब टाइटल’ आफ्नै राष्ट्रिय भाषामा दिने या डब गर्ने या भ्वाइस ओभर दिने ।
कोरिया, चीन, जापानको कुरै छाडिदिउँ । उनीहरू बाहिरका सबै फिल्महरूलाई स्वदेशी दर्शकहरूले सजिलै बुझ्ने गरी आफ्नै भाषामा सबटाइटल दिने, डब गर्ने या भ्वाइस ओभर गर्ने अर्थात् फिल्मको कथा विवरणलाई आफ्नै भाषामा रूपान्तरण गर्ने दुःख गर्छन् । ‘अंग्रेजी बुझ्छौं’ भनेर फूर्ति देखाउँदैनन्, अंग्रेजीमा बोल्ने वक्ताका कुरालाई दोभाषेको सहयोगबाट
आफ्नो भाषामा सुन्छन् ।
साझा ल्याटिन लिपिका कारण पश्चिम युरोप र स्क्यान्डनेभियाली मुलुकका लेख्य स्वरूप झट्ट हेर्दा उस्तै लाग्छ । तर, उनीहरू पत्रपत्रिका र पुस्तकहरू असलमा आफ्नै राष्ट्रिय भाषामा पढिरहेका हुन्छन् । अर्को भाषामा निस्केका राम्रा पुस्तकलाई तात्तातै आफ्नो भाषामा उल्था गरेर छाप्छन् । आफ्नो देशबारे कुनै विदेशीले लेखेको किताब छ भने त आफ्नो भाषामा जसरी पनि ल्याइछाड्छन् । तब पो भाषाको भण्डार बढ्छ र भाषा उँभो लाग्छ । तर, दुःखका साथ भन्नुपर्छ हामीकहाँ त्यो जाँगर कहिल्यै पलाएन । हाम्रो देशको इतिहास सुरु सुरुमा लेखिदिने अंग्रेजहरू नै थिए– कर्कप्याट्रिक, ड्यानियल राइट, हजसन, ह्यामिल्टन प्रवृत्ति । खै त उनीहरूले लेखेर गएका इतिहासका पुस्तकहरूको नेपालीमा अनुवाद गरिएको ?
भाषा भनेको फूलको बिरुवा जस्तै हो । यसलाई गोडमेल र मलजल गरिराख्नुपर्छ । नत्र जंगली झारले बिरुवालाई खाइदिएझैं भाषा पनि ओइल्याउँछ । नेपाली भाषाले पाउनुपर्ने गोडमेल र स्याहार नपाएको त छँदै छ, त्यसबाहेक दुई प्रतिकूल रवैयाबाट पनि यो प्रताडित छ ।
पहिलो हो जातीय र भाषिक पहिचानका हिमायतीहरूको तप्काले देखाउने गरेको रवैया । त्यस तप्काले नेपालीलाई नेपाली भाषा नभनेर खस भाषा भन्न रुचाउँछ । आफ्नो मातृभाषाप्रति लगाब र प्रेम हुनु स्वाभाविक हो । त्यसको उन्नयनमा लाग्नु
पनि उत्तिकै स्वाभाविक हो । तर, आफू अगाडि बढ्नलाई अरूको खुट्टा तान्नु जरुरी छैन । हो, नेपाली भाषाको
उद्गम खस भाषा मानिन्छ । तर, समयक्रममा यो पर्वते, गोर्खे भाषा भनेर पनि चिनिएको छ । त्यसैले यसलाई खस भाषा भनिराख्नु सानोमा डल्ले भनिने बालकलाई ठूलो भइसक्दा पनि त्यही नामबाट पुकार्नु जस्तै हो, जो मनासिब होइन । फेरि अहिले नेपाली भाषाको जुन स्वरूप छ त्यसमा अनेक भाषाको योगदान रहेको छ, कुनै नदीमा अनेकन् खोलानालाको पानी मिसिए झैं । यो कहाँ रह्यो र विशुद्ध खस ? उसो भए त हिन्दीलाई पनि हिन्दी नभनेर ‘खडी बोली’ भने भइहाल्यो । आखिर हिन्दी विकसित भएको खडीबोलीबाटै हो ।

यसर्थ खस भाषा भन्दा यो मेरो आफ्नो भाषा नभएकाले यसप्रति मेरो अपनत्व छैन भन्ने भाव झल्किन्छ । म नेपाली हुँ र नेपाली भाषा मेरो हो भन्ने भावना नभई अपनत्वको भाव पैदा हुँदैन र यसको स्याहारसम्भारप्रति कर्तव्यबोध पनि हुँदैन ।
अर्को रवैया त्यस तप्काको छ, जसले आफूलाई संविधानबाटै आर्य भनाएर श्रेष्ठतम् मानवको हैसियतमा स्थापित गराएका छन् र उनीहरू आफ्नो मातृभाषा नेपाली भएको दाबी गर्छन् । कुनै कालमा उनीहरू संस्कृतलाई
आफ्नो मातृभाषा मान्थे । वाल्मीकिकृत ‘रामायण’ लाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेर ल्याइदिने भानुभक्तले उसै सामाजिक खप्की खानुपरेको थिएन । नेपाली भाषालाई मातृभाषा भन्नमा गर्व महसुस गर्ने यो समुदाय शुभद्राको कोखबाटै रणकौशलको ज्ञान प्राप्त गर्ने अभिमन्युझैं आमाको पेटबाटै नेपाली भाषाको ज्ञान लिएर आएको ठान्छन् । उनीहरू यसको अनुशीलन वा परिशीलनको थप लन्ठा गरिरहनुपर्छ भन्ने ठान्दैनन् ।
यो आफ्नै बिर्ता भएकाले धेरै दुःख किन गरिरहनुपर्‍यो भन्ने भावबाट उनीहरू प्रभावित छन् । कहाँसम्म भने आफूबाहेकका अरूलाई विमातृभाषी भन्नसमेत उनीहरू पछि पर्दैनन् । उनीहरू ती विमातृभाषी भनाउँदालाई नेपाली भाषा उपयोग गर्न दिएर ठूलै उपकार गरिदिए जस्तो ठान्छन् । मानौं कुनै जमिनदारले
आफ्नो जमिनको एक कुनामा ओसारो बनाएर बास बस्न दिएको होस् ।
असलमा भाषा कुनै जात, धर्म वा सम्प्रदायको हुँदैन । यो जसले प्रयोग गर्‍यो त्यसैको हुन्छ । मातृभाषी र विमातृभाषीको यो बखेडाको कुनै तुक छैन । यो संकीर्ण मानसिकताको उपज मात्र हो, यसले नेपाली भाषाको विकासमा सघाउ पुर्‍याउँदैन ।
एक त पढालेखाहरूको सिंगो जमात अंग्रेजी भाषाको सम्मोहनबाट लठ्ठिएका छन्, स्कुल–कलेज त्यसैको नाम भजाएर कारोबार गरिरहेछन्, अर्कोतिर भाषाको अवनतिप्रति बेखबर र निश्चेष्ट सरकार छ । प्रज्ञाचक्षु भएका विद्वान्हरू पनि किन हो यसबारे उदासीन छन् । यसो भएपछि नेपाली भाषाको शब्दभण्डार बढाउने, यसलाई अझै वैज्ञानिक र परिष्कृत तुल्याउँदै अन्य भाषाको हाराहारीमा लैजाने, ज्ञान, विज्ञान, दर्शनको उच्चतर स्थानमा यसको पहुँच पुर्‍याउने, उच्च साहित्यको निर्माण गर्ने जस्ता भाषाको श्रीवृद्धिसित जोडिएका कुरा बेवारिसे हुन जान्छन् । नेपाली भाषाको अवस्था आज सडकपेटीको ‘खाते’ बालकको जस्तो छ– उचित भरणपोषण, अनुशासन, शिष्टाचार, सभ्य आचरण र संस्कार नपाई हुर्किरहेको ।
यही उदासीनता र निश्चेष्टता रहिरहने हो भने नेपाली भाषा केवल कथ्य रूपमा सीमित रहने दिन टाढा छैन । संसारबाट धेरै भाषा लोप भएका छन् र कैयौं लोप हुने प्रक्रियामा छन् । ठूलो जनसंख्याले बोल्ने भए पनि कथ्य रूपमा साँघुरिएका भाषा अनेक छन् । तिनीहरूसित उच्च साहित्यको भण्डार हुँदैन, उच्च ज्ञान, दर्शन र विज्ञानसम्म पुग्ने हैसियत हुँदैन ।
नेपाली भाषालाई प्रेम गर्ने, तर यसको यो दशा (या दुर्दशा) देखेर केही विद्वान्हरू अबको पचास वर्षमा यो मर्छ भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।
यो भनाइ भयोत्पादक विचार लाग्न सक्छ सुन्नेलाई । तर, मलाई पनि कसैले के नेपाली भाषा मर्छ भनेर सोध्यो भने मेरो उत्तर
हुनेछ– हो, मर्न सक्छ यही रीत रहेमा ।

Page 10
कोसेली

महिलाको साइकल साइनो

- करुणा देवकोटा,सविता आचार्य

इतिहास र वर्तमान
संसारकै पहिलो साइकलिस्ट महिला को होला ? अमेरिकी महिला एनी ‘लन्डनडेरी’ कोप्चोभस्की । उनले सन् १८९४ मा पहिलो पटक साइकल चलाएकी रहिछन् । यो तथ्य थाहा पाएपछि हामी उत्सुक भयौं । किनकि, जर्मन नागरिक कार्ल भोन डेरिसले सन् १८१७ मा नै साइकलको आविष्कार गरेका थिए । हामीलाई सबैभन्दा उत्सुक बनायो एउटा प्रश्नले ।
आविष्कारको ७७ वर्षपछि बल्ल महिलाले पहिलो पटक साइकल चलाउन पाए । यति लामो समय किन कुर्नुपर्‍यो ?
थप अन्य प्रश्न, साइकल चलाउन एनीलाई केले प्रोत्साहन गर्‍यो ?
विभिन्न अनुसन्धान लेखमा उल्लेख भएअनुसार, ‘महिलाले १५ महिना साइकल चलाएर ५ हजार डलर पनि आम्दानी गर्न सक्दैनन्’ भनेर बोस्टनका २ जना धनी पुरुषले मौखिक चुनौती दिएका रहेछन् । त्यही चुनौतीलाई गलत सावित गर्न २४ वर्ष पुग्दानपुग्दै ६ वर्षमुनिका ३ जना छोराछोरीकी आमा एनीले बोस्टनबाट साइकल यात्राको सुरुवात गरेकी रहिछन् । १५ महिने यात्राका क्रममा उनी पूर्वी एसिया हुँदै इजिप्ट, श्रीलंका, सिंगापुर, चीन र जापानसम्म मात्रै पुगिनन्, आफ्नो साइकलमा ‘लन्डनडेरी लिथ्ह्या स्प्रिङ वाटर कम्पनी’ को प्लेकार्ड राखेर आम्दानीको स्रोत पनि जोहो गरिन् ।
त्यो अवधिमा उनले ५ हजार डलरभन्दा बढी आम्दानी गरेर साइकलले महिलाको जीवन परिवर्तनमा प्रभावकारी भूमिका खेल्छ भन्ने उदाहरण पनि स्थापित गराइदिइन् ।
एनी लन्डनडेरीको आँट र सफलतासँग जोडिएको महिला साइक्लिस्टको इतिहास गर्विलो र प्रेरणादायी छ । उनको हिम्मतले महिलाको साइकल चलाउने क्षमता मात्रै उजागर गरेन, महिलालाई सामाजिक गतिविधिमा संलग्न हुन, आफ्नो स्वतन्त्रताको उपयोग गर्न र आत्मनिर्भर हुन साइकल कति अत्यावश्यक रहेछ भन्ने पनि प्रमाणित गरिदियो । ‘साइकल पुरुषले मात्रै चलाउने हो’ भन्ने बुझाइ प्राथमिकतामा रहेको समयमा एनीको सुरुवातले साइकलप्रतिको महिलाको ‘क्रेज’ त बढायो नै, साइकल र महिलालाई लिएर विभिन्न तर्क, विचार, विमर्श गर्ने वर्ग पनि जन्मायो । सन् १८९० को दशकमा साइकलप्रतिको आकर्षण बढिरहेका बेला, ‘महिलालाई साइकल चलाउन दिने कि नदिने ?’ भन्ने बहसले व्यापकता पायो ।
सोही कालखण्डमा विश्व प्रसिद्ध महिला अधिकारकर्मी सुसन वि. एन्थोनीले भनेकी थिइन्, ‘मलाई लाग्छ महिलालाई स्वतन्त्र महसुस गराउन सबैभन्दा प्रभावकारी भूमिका साइकलको छ । यसले महिलालाई स्वतन्त्रता र आत्मनिर्भरको अनुभूति गराएको छ । जब म महिलाले साइकल चलाएको देख्छु, म हरेक पटक उभिएर त्यो खुसी अनुभव गर्छु... त्यो क्षण मलाई उत्मत्त नारीत्वको स्वतन्त्र तस्बिरजस्तो लाग्छ ।’ एन्थोनीको यही विचारले पनि महिला र साइकलको अन्योन्याश्रित सम्बन्धलाई परिभाषित गर्छ ।
महिला साइक्लिस्टसँग जोडिएको अर्को प्रेरणादायी इतिहास हो, सन् १९५८ मा आयोजना गरिएको ‘विमेन्स साइक्लिङ वर्ल्ड च्याम्पियनसिप’ । अन्तर्राष्ट्रिय साइक्लिङ युनियनले फ्रान्समा आयोजना गरेको उक्त प्रतियोगितामा लक्जम्बर्गकी २५ वर्षीया एल्सी ज्याकोब्सले जित हासिल गरेकी थिइन् । यस्तै सन् १९८४ को लस एन्जल्स गेमले महिला र साइक्लिङबीचको सम्बन्ध प्रगाढ बनाउन ठूलो भूमिका खेलेको छ । उक्त गेममा पहिलो पटक महिलाका लागि ओलम्पिक साइक्लिङ रेसको आयोजना गरिएको थियो । प्रतिस्पर्धामा अमेरिकन महिला कोनी कार्पेन्टरले जित हासिल गरिन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा एल्सी र कोनीको जितले महिलाले पनि पुरुषसरह अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सक्छन् भन्ने नजिर बसायो । अनि महिला साइक्लिङलाई व्यावसायिक आकार पनि दियो ।
यसरी सुरु भएको ‘महिला साइक्लिस्ट’ अर्थात् ‘महिला साइकले’ हरूको साइकल यात्रा आज विश्वभर पुगेको छ । नेपालमा पनि सन् १९४० को दशकतिरै महिलाले साइकल चलाएको इतिहास भेटिन्छ । महिला स्वतन्त्रता र अधिकारलाई लिएर संकुचित सामाजिक मान्यता व्याप्त तत्कालीन नेपाली समाजमा महिलाले साइकल चलाउनु आश्चर्य र असम्भवजस्तै मानिन्थ्यो । त्यस्तो सामाजिक संरचनालाई चिर्दै जब सरोजिनी मानन्धर, किशोरी राणा, हसिना जोशीहरूले काठमाडौं, भक्तपुरका गल्लीहरूमा साइकल चलाए, साइकलसँग नेपाली महिलाको सम्बन्ध गाँसियो । हुन त उनीहरूमध्ये किशोरी र हसिनाको साइकल यात्रा विवाह भएपछि रोकिए पनि उनीहरूको प्रयासले धेरै महिलालाई साइकल चलाउन प्रेरणा दियो । महिलाले पनि साइकल चलाउन सक्ने रहेछन् भन्ने कुरा नेपाली मानसपटलमा अंकुराउन थाल्यो ।
फलस्वरूप आज धेरै महिला गाउँ सहरका गोरेटो, गल्ली र सडकहरूमा निर्धक्कसँग साइकल गुडाउँछन् । तीमध्ये केहीले रहरले साइकल चलाउँदै आफ्नो मनलाई चंगा महसुस गर्छन् । कोही स्वास्थ्यका लागि साइकल चलाएर आफ्नो तनलाई फुर्तिलो बनाउँछन् । कोही शैक्षिक संस्थाको दैलोसम्म पुगेर विद्या आर्जन गर्छन् । कोही घरायसी कामकाज, विभिन्न पेसा व्यवसाय सम्हाल्दै महिला सशक्तीकरणको उदाहरण दिन्छन् ।
साइकल चढेर घाँस, दाउरा गर्न जंगलसम्म पुग्ने, दूध, घिउ, तरकारी बेच्न डेरी र बजारसम्म धाउने, साइकलको क्यारियरमा बालबच्चा राखेर स्कुल पुर्‍याउने, आफ्नो विभिन्न पेसा व्यवसाय सम्हाल्न साइकल चढेर दिनहुँ यात्रा गर्ने महिलाहरू आज प्रशस्त देख्न पाइन्छ । विशेषगरी नेपालको तराई भेगका जिल्लामा साइकल चलाएर अदृश्य सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको उदाहरण दिने महिलाको संख्या अनगिन्ती छ । यस्तै गरी विभिन्न उद्देश्यसहित साइकल यात्रा गर्ने, आफ्नो व्यक्तिगत स्वास्थ्य, वातावरणीय चिन्तनसहित साइकल गुडाउने महिलाहरू पनि गाउँ तथा सहरी क्षेत्रमा प्रशस्तै देख्न पाइन्छ । यसरी पुरुषवादी चिन्तन, व्यवहार हावी रहेको समाजमा सुरुवाती दिनदेखि आजसम्म महिलालाई सशक्त, आत्मनिर्भर र स्वतन्त्र बनाउने सहज साधनका रूपमा साइकल प्रसिद्ध छ ।
यसै पनि आफ्ना खुट्टाका बलले साइकलका पेडल पेल्दै परपरसम्म पुग्नु आफैंमा परमानन्द हो । तर, महिलाका लागि त्यो आनन्दको अनुभूति अघि चर्चा गरेजस्तो सामाजिक खुसीमा मात्रै सीमित छैन । साइकलसँग महिलाको सशक्तीकरण र सक्षमता सँगसँगै उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य पनि जोडिएको छ । हुन त साइकल चलाउनुको शारीरिक र मानसिक फाइदा महिला र पुरुष दुवैलाई छ । तर, नियमित साइकल चलाउँदा महिलाका स्वास्थ्यका लागि हुने फाइदा विशेष छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार, एउटा वयस्क व्यक्तिलाई स्वस्थ जीवनशैलीका लागि हरेक हप्ता १५० देखि ३०० मिनेटसम्मको ‘एरोविक एक्सरसाइज’ अर्थात् शरीरका अधिकांश मांसपेशी सञ्चालित गर्ने शारीरिक अभ्यास आवश्यक पर्छ । जसमध्ये ‘साइक्लिङ’ एउटा प्रभावकारी ‘एरोविक’ अभ्यास हो । नियमित साइकल चलाउँदा मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ । अमेरिकी सरकारी संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले सन् २०२३ मा प्रकाशित जर्नलमा साइकल चलाउनाले कुनै पनि प्रकारको मुटुरोग तथा टाइप २ मधुमेहका कारण हुने मृत्युको जोखिम कम गर्छ भनिएको छ । फोक्सोको क्षमता बढाउन, शरीरको बोसो, कोलेस्ट्रोल र रक्तचाप घटाएर रक्तसञ्चारमा सुधार ल्याउँदै मुटुको स्वास्थ्य अवस्था सुधार गर्न साइक्ल्ङि फाइदाजनक छ ।
युनिभर्सिटी अफ ग्लासगोले सन् २०१७ मा गरेको
अनुसन्धानका अनुसार आफ्नो नियमित काममा जान साइकल चलाउने अभ्यासले क्यान्सरको जोखिम ४५ प्रतिशत कम हुन्छ । यस्तै, साइकल नचलाउनेको तुलनामा साइकल चलाउने व्यक्तिको असामयिक मृत्युको जोखिम ४१ प्रतिशतले कम छ । ५ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा २ लाख ६४ हजार ३ सय ३७ जनामा सर्वेक्षण गरिएको थियो । यस्तै, महिलालाई हुन सक्ने स्तन क्यान्सरको जोखिम कम गर्न पनि नियमित साइकल चलाउनु प्रभावकारी मानिन्छ । नेसनल क्यान्सर इन्स्टिच्युटको वेबसाइटमा उपलब्ध अध्ययनअनुसार, शारीरिक रूपमा निष्क्रिय महिलाको तुलनामा सक्रिय महिलालाई स्तन क्यान्सर हुने जोखिम १२ प्रतिशतले कम हुन्छ ।
उक्त अध्ययनअनुसार विशेष गरी रजनोवृत्ति सुरु हुनुअघि र भइसकेपछि महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । तर रजनोवृत्तिपछि पनि शारीरिक अभ्यासमा सक्रिय महिलालाई स्तन क्यान्सरको जोखिम अन्य महिलाको तुलनामा कम हुन्छ । यस्तै ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनका अनुसार साइकल चलाउने महिलालाई स्तन क्यान्सरसँगै पाठेघरको क्यान्सरको जोखिम पनि कम हुन्छ । यी सबै रोगादिको जोखिम कम गर्न महिलालाई साइकल झन् जरुरी छ ।
यसबाहेक पनि साइकल चलाउनुका अनगिन्ती फाइदा छन्, जसले महिलाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छन् । एभ्रिडे हेल्थको वेबसाइटमा प्रकाशित ‘ज्वइन्ट पेन एन्ड विमेन’ शीर्षकको लेखअनुसार प्राकृतिक रूपमै महिलाहरूमा जैविक, आनुवंशिक र हर्मोनका कारण ‘आर्थ्राइटिस’ अर्थात् बाथरोगको जोखिम बढी हुन्छ । त्यसबाहेक मोटोपनाका कारण महिलामा ‘आर्थ्राइटिस’ हुने सम्भावना बढी पाइन्छ । नियमित साइकल चलाउने अभ्यासले शारीरिक तौल घटाएर मोटोपनाले हुने ‘ओस्टियोआर्थ्राइटिस’ को जोखिम कम गर्छ । किनकि, नियमित साइक्लिङ गर्दा प्रतिघण्टा लगभग ३ सय क्यालोरी कम गर्न सहयोग गर्छ । ९० वर्ष उमेर पुगिसक्दा पनि साइकल चलाउने गरेकी प्रसिद्ध महिला साइकल यात्री लान इन टेसाई भन्छिन्, ‘जब हामी हाम्रो शरीर नचलाउने निर्णय गर्छौं तब शरीर चल्न छोड्छ । साइकल चलाउँदा हर–कोहीको शारीरिक प्रणालीले राम्ररी काम गर्न थाल्छ ।’ टेसाईको यो भनाइले साइकलसँग जोडिने शरीरको गतिशीलतालाई अर्थ्याउँछ ।
प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर पवन शर्मा साइक्लिङका फ्यान हुन् । महिलाका लागि साइकल चलाउनु अझ किन उपयोगी छ भनी उनले धेरै अध्ययन गरेका छन्, ज्ञान बाँडेका छन् । उनले उपचार गर्ने थुप्रै महिलालाई साइकल चलाउँदाको फाइदाबारे सुनाइरहन्छन् । साथै, डाक्टर शर्माका कुरा सुनेर साइकल चलाउन थालेका महिलाका पनि साइकलले स्वास्थ्य राम्रो बनाएको अनुभव सुनेर पनि थाक्दैनन् ।

साइक्लिङ, महिनावारी र रजनोवृत्ति
अध्ययनहरूले भन्छन्, साइक्लिङलगायतका शारीरिक अभ्यासले महिनावारीमा हुने दुखाइ कम गर्छ । यस्ता अभ्यासले ‘इन्डोरफिन्स’ नामक हर्मोन उत्पादन गर्छ, जसले शारीरिक दुखाइ कम गर्न र मांसपेशीलाई संकुचित बनाउने ‘प्रोस्टाग्ल्याडिन’ हर्मोनलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ ।
नियमित साइकल चलाउँदै आएकी कमला पुन पनि महिनावारीको समय निर्धक्क भएर साइकल चलाउँछिन् । साइकल ‘मोसन’सँग सम्बन्धित भएकाले महिनावारीको समयमा साइकल चलाउँदा हर्मोनलाई सन्तुलित राख्न मद्दत गर्ने उनको अनुभव छ । ‘साइकल कल्चर कम्युनिटी’ की कोषाध्यक्षसमेत रहेकी कमला भन्छिन्, ‘महिनावारीमा रगत बगेकै कारण हिचकिचाएर बस्न हुँदैन । प्याड, मेन्टसुरल कप वा अरू जे लगाउँदा आफूलाई सहज हुन्छ, त्यसको प्रयोग गरेर महिनावारीमा पनि साइकल चलाउन सकिन्छ । मेरो यही अभ्यासले गर्दा मलाई पिरियड हुँदा पनि ‘म सक्दिनँ, म कमजोर छु’ भन्ने ‘फिल’ नै हुँदैन ।’ महिनावारीको समयमा पनि आफूलाई शारीरिक र मानसिक रूपमा बलियो महसुस गर्‍यो भने ढुक्कसँग साइकल चलाउन र साइकल चलाउँदाको फाइदा महसुस गर्न सकिने उनको अनुभव छ ।
महिनावारीसँगै साइकल चलाउनुको फाइदा रजनोवृत्ति अघि र पछिको समयमा पनि छ । स्वास्थ्य तथा फिटनेसका बारेमा लेख्दै आएकी यूएसए साइक्लिङकी प्रशिक्षक सेलिन यगरका अनुसार रजनोवृत्ति हुनुअघि र भइसकेपछि पनि साइक्लिङ गर्नु धेरै हिसाबले स्वास्थ्यका लागि फलदायी हुन्छ । रजनोवृत्तिका कारण हुने मानसिक समस्यालाई कम गर्न, रजनोवृत्ति भइसकेपछि हुने सक्ने शारीरिक समस्यालाई न्यूनीकरण गर्न, हड्डीलाई बलियो बनाउन साइक्लिङ प्रभावकारी मानिन्छ । साथै शरीरको सन्तुलनलाई कायम राख्न पनि मद्दत गर्छ ।

साइक्लिङ र गर्भावस्था
गर्भवती अवस्थामा साइकल चलाउन हुन्छ कि हुँदैन भन्ने द्विविधा धेरैलाई छ । कतिलाई त लाग्छ, गर्भावस्थामा साइकल चलाउनु जोखिमपूर्ण काम हो । तर, उक्त अवस्थामा पनि संयमित भएर साइकल चलाउँदा मुटुलाई तन्दुरुस्त बनाउँछ र प्रसव व्यथालाई सहज बनाउन मद्दत गर्छ । अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिनको हेल्थ एन्ड फिटनेस जर्नलमा सन् २०२० मा प्रकाशित एउटा अध्ययनले गर्भवती महिलाले हप्तामा कम्तीमा १ सय ५० मिनेट वा सोभन्दा बढी सामान्य शारीरिक कसरत गर्न सुझाएको छ । उक्त अध्ययनअनुसार त्यस्ता अभ्यासले गर्भावस्थामा हुने जोखिमलाई कम गर्ने सम्भावना हुन्छ ।
अमेरिकन कलेज अफ अब्सटेट्रिसन एन्ड गाइनेकोलोजिस्टले ‘इन्डोर साइक्लिङ’ अर्थात् घरभित्रै एक ठाउँमा स्थिर भएर गर्ने साइक्लिङ गर्भावस्थामा सुरक्षित हुन्छ भनेर सूचीकृत गरेको छ । त्यसरी साइक्लिङ गर्दा प्रशस्त पानी पिउन, शरीरलाई अतिरिक्त भार नपर्ने गरी संयमता अपनाउन र शरीरको तापक्रम सन्तुलित राख्न भने आवश्यक हुन्छ । गर्भावस्थाको समयमा हुने मधुमेह, उच्च रक्तचाप, सी–सेक्सन, मानसिक चिन्ता, ढाड दुख्ने समस्या, कब्जियत, आदिलाई कम गर्न पनि साइक्लिङ प्रभावकारी मानिन्छ । यसो भन्दैमा कच्ची सडक, खाल्डाखुल्डी भएका ठाउँ तथा अप्ठ्यारा बाटाहरूमा साइकल चलाउन मिल्छ भन्ने होइन ।

सबल मानसिक स्वास्थ्य
मेन्टल हेल्थ फाउन्डेसनका अनुसार, १६ देखि २४ वर्ष उमेर समूहका महिलाले सोही उमेर समूहका पुरुषको तुलनामा २६ प्रतिशत अर्थात् ३ गुणा बढी मानसिक स्वास्थ्य समस्या अनुभव गर्छन् । साथै, पुरुषको तुलनामा महिलाहरू २ गुणा बढी ‘एन्जाइटी’ अर्थात् चिन्ता लिने बानीको जोखिममा हुन्छन् । तर, नियमित साइकल चलाउने बानीले यस्ता मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन् । मानसिक स्वास्थ्यसँग जोडिने रिस, तनाव, डिप्रेसनलाई नियन्त्रण गर्न साइक्लिङ प्रभावकारी मानिन्छ । एक त साइकल चलाउँदा हुने शारीरिक कसरत, अर्को साइकल चलाउँदा मिल्ने खुसीले मानसिक स्वास्थ्यसँग जोडिएका समस्या न्यूनीकरणमा मद्दत गर्छ । नियमित साइकल चलाउने महिलाले मानसिक स्वास्थ्य समस्याको सामना अन्यको तुलनामा बढी प्रभावकारी तरिकाले गर्न सक्छन् । साथै, यसले स्मरण क्षमता वृद्धि गर्न, राम्रो निद्रा पार्न, सिक्ने क्षमताको विकास गर्न पनि सहयोग गर्छ ।
कमला पुनको विचारमा नियमित साइकल चलाउनु एक प्रकारको ‘मेडिटेसन’ हो । साइकल चलाउँदा आफूलाई पूर्ण महसुस गर्ने कमला आफ्नो घरायसी जीवन र साइकल प्रेमलाई एकसाथ गुडाउँदै आइरहेकी छन् । विगत ५ वर्षदेखि साइकल चलाउँदै आएकी उनलाई साइकल चलाउँदै गर्दा वा साइकलको हेलमेटसहित अरू व्यक्तिलाई भेट्दा सकारात्मक भाव बढी महसुस गर्छिन् । व्यस्त जीवनशैली, घरायसी कामकाज तथा व्यवहार, बालबच्चा तथा परिवारका सदस्यको जिम्मेवारी वा उनीहरूलाई दिनुपर्ने समयलगायत धेरै कुराले महिलालाई मानसिक उतारचढाव भइरहेको हुन्छ । यस्तोमा कम्तीमा हप्ताको एक वा दुई पटक भए पनि साइकल चलाउँदा महिलाले ऊर्जा शक्ति, सकारात्मकतामा प्रत्यक्ष प्रभाव पर्ने कमला बताउँछिन् ।
साइकल चलाउँदा खुला हावाको महसुस गर्दै वरपरको वातावरणलाई अनुभव गर्न पाइन्छ । मोबाइल ल्यापटप लगायतका विद्युतीय सामग्रीको स्क्रिनमा व्यस्त हुनेको जमात बढिरहेको अवस्थामा स्क्रिनभन्दा बाहिरको दुनियाँ नियाल्दै बेफिक्री भएर ‘मि–टाइम’ अर्थात् नितान्त व्यक्तिगत समय बिताउन पाउनु साइकल चलाउनुको रमाइलो पक्ष हो । त्यो क्षणले मनमा छुट्टै आनन्द र स्वतन्त्रताको अनुभूति सञ्चार गर्छ । विशेषगरी किशोरी तथा युवतीलाई आत्मसम्मान कमाउन र आत्मविश्वास बढाउन पनि साइक्लिङले सहयोगी भूमिका खेल्छ । आफ्नो काम र क्षमताले भन्दा शारीरिक बनोटको आधारमा ‘राम्रो’, ‘चिटिक्क’ देखिनुपर्ने प्रत्यक्ष अप्रत्यक्ष दबाब उनीहरूलाई बढी हुन्छ । यस्तोमा, नियमित साइकल चलाउने अभ्यासले उनीहरूलाई आफ्नो शारीरिक क्षमताप्रति गर्व गर्न, आफ्नोपनको अनुभूति गर्न र आफू हुनुको अपनत्व महसुस गराउँछ ।
शारीरिक, मानसिक स्वास्थ्यसँगै सामाजिक जीवन, आत्मसम्मान र समुन्नतिसँग जोडिएको साइकल र महिलाको सम्बन्ध आफैंमा महत्त्वपूर्ण छ । प्रविधिको विस्तार, व्यस्त जीवनशैली, असन्तुलित खानपान, शारीरिक तथा मानसिक अस्वस्थता बढिरहेको अवस्थामा साइकलप्रति महिलाको ‘क्रेज’ जोगाउनु र बढाउनु दुवै चुनौतीपूर्ण देखिन्छ । साइकलमैत्री सडक संरचनाको अभाव, महिलामैत्री सोच र व्यवहारको कमी आदि यसका प्रमुख कारक हुन् । यस्तै कारणलाई निरुत्साहित गर्दै साइकल चलाउनेका लागि आवश्यक सडक संरचना, आवश्यक नीति नियम, रहर वा बाध्यता दुवैले साइकल चलाउनेहरूको हकहितका लागि ‘साइकल कल्चर कम्युनिटी’ जस्ता समूहले पनि काम गर्दै आइरहेको छ । यदि यस्ता अभ्यासलाई प्रोत्साहन गर्दै साइकल र महिलाबीचको सामीप्यता बढाउन सकियो भने त्यसले समृद्ध र समतामूलक परिवार, समाज र राष्ट्र निर्माणसँगै प्रकृति र वातावरणको संरक्षणमा पनि टेवा पुर्‍याउन ऐतिहासिक भूमिका खेल्छ ।

 

Page 11
कोसेली

अभिनय नै सौगातको आराधना

- दयाहाङ राई

मेरा लागि सौगात मल्ल असाध्यै प्रिय अभिनेता हो । ऊ एकदमै ‘पर्फेक्ट एक्टर’ हो । उसले जुन चरित्रको निर्माण गर्छ, त्यसको रिदममै ऊ काम गरिरहेको हुन्छ । चरित्र निर्माणमा उसको लामो र लोभलाग्दो साधना छ । त्यसैले पटक–पटक भन्छु, सौगात एक पर्फेक्ट एक्टर हो ।
यहाँ मैले ‘रिदम’ शब्द उल्लेख गरें । त्यो के मानेमा भने सौगातले निर्माण गरेको चरित्रको हिँडाइ, बोलाइ र पूरै हुलियाको आवरण यस्तो हुन्छ कि त्यो चरित्र पूरै ‍विश्वसनीय लाग्छ । त्यो चरित्र हेर्ने दर्शकलाई साह्रै आनन्द आउँछ । आफ्नो चरित्र–निर्माणमा अथक मिहेनत गर्छ सौगात । कुनै पनि फिल्ममा काम गर्नुअघि चरित्र बन्नकै लागि कम्तीमा १५ दिन त उसले लिएकै हुन्छ । उसको त्यो शैली मलाई खुब मनपर्छ ।

सबै कलाकारको काम गर्ने आ–आफ्नै मौलिक तरिका हुन्छ । तर, सौगात शारीरिक (फिजिकल्ली) पक्षको गहिराइमा गएर काम गर्न खोज्छ । यदि कुनै चरित्र खाली खुट्टा हिँड्छ भने सौगात १५ दिनदेखि नै त्यसको अभ्यासमा हुन्छ । खाली खुट्टा हिँड्दा कस्तो अनुभव–अनुभूति हुन्छ ? जमिनमा, माटोमा वा बालुवामा हिँड्दा हिँड्नेको हाउभाउ कस्तो हुन्छ ? सौगातको शरीर त्यो पक्षमा अभ्यस्त भइसकेको हुन्छ ।

उदाहरणका लागि यदि सौगात खलासीको रूपमा फिल्ममा देखिँदै छ र त्यो पात्रको एक हातमा समस्या छ भने ऊ त्यो चरित्रमाथि अभ्यस्त बन्न मिहिनेत थालिहाल्छ । त्यो खलासी कुन हातले बसको ढोका समात्छ ? कुन हातले पैसा समात्छ ? र, कुन औंलाले पैसा कसरी च्याप्छ ? त्यसमा सौगातले पहिल्यैदेखि लामो अभ्यास गरिरहेको हुन्छ । त्यसैले सौगात अभिनयमा एकदमै फोकस छ । अभिनयबाहेक अरू काम ऊ रोज्दैन, अरू काम उसलाई आउँदैन पनि होला ।

हरबखत अभिनयकै लागि ऊ घोत्लिरहेको हुन्छ । असलमा ऊ अभिनयको होलटाइमर हो । अभिनयबाहेक अरू विषयमा चासो छैन, कसैसँग कुनै गुनासो पनि छैन । फिल्म नै उसको काम, अभिनय नै उसको मुख्य पेसा, अभिनय नै उसको आराधना ।
म चाहिँ मन्डला थिएटरमा विद्यार्थीसितै व्यस्त हुन्छु । तर, आफ्नो अघि खडा भएको चरित्र गर्नु नै सौगातको मूल उद्देश्य हो । एउटा चरित्र बाँचिसकेपछि लगत्तै ऊ अर्को चरित्रमा काम गर्न थालिसकेको हुन्छ । सौगातझैं मिहिनेती कलाकार नेपालमै अर्को छैन । ऊ सधैं मेथोड एक्टिङ पहिल्याइरहेको हुन्छ ।

हामीले सँगसँगै थुप्रै फिल्ममा मसिना–मसिना भूमिकामा काम गरेका छौं । ‘आचार्य’ फिल्ममा सौगात र मैले सानो–सानो भूमिका गर्‍यौं । त्यतिबेला बरु छोटै होस् फुत्त आउने–जाने, तर मस्तिष्कमा लामो समय रहिरहने चरित्र हामीलाई गर्न मन लाग्थ्यो । मैले ‘आचार्य’ मा डाक्टरको भूमिका गरें । सौगातले भक्तराज आचार्यलाई कुट्ने व्यक्तिको भूमिका गर्‍यो । ‘दासढुंगा’ मा पनि साना–सानै भूमिका छ, हाम्रो । त्यतिबेला पनि त्यो फिल्मको एउटै फ्रेममा चाहिँ हामी देखिएनौं । ‘हाइवे’, ‘फन्को’ पनि हामी सँगसँगै देखिएका छैनौं ।

एकैचोटि ‘लुट’ मा लामो समय फ्रेममा सँगै देखियौं । हामी दुईको किस्सा त यस्तो पनि छ– एउटै फिल्ममा भए पनि एउटै फ्रेममा थिएनौं । धेरै फिल्ममा यस्तो भएको छ । ‘कबड्डी कबड्डी’, ‘लप्पन छप्पन’ मा चाहिँ हामी सँगै देखिएका छौं, तर बीचतिर गरेको फिल्ममा सँगै एउटै फ्रेममा छैनौं । ‘लुट’ को समयमा हामी धेरै नै रिहर्सल गर्थ्यौं, इम्प्रोभाइज गर्थ्यौं । ‘लुट’ अघि हामी ‘हाइवे’ को सुटिङमा इलाममा थियौं । ‘लुट’ का निर्देशक निश्चल बस्नेतले हामीलाई स्क्रिप्ट दिएर पठाएका थिए ।

‘हाइवे’ को सेटमा पनि हामी ‘लुट’ माथि कुरा गर्थ्यौं । काठमाडौं फर्केर २ महिना रिहर्सल गर्‍यौं । हामी दैनिक संवाद लेख्थ्यौं, परिमार्जन गर्थ्यौं । त्यसमा सुरुमा सौगातको चरित्र ‘काले’ को मात्रै थियो । उसलाई एउटै अर्थ दिने दुई शब्द मनपर्ने ! त्यसपछि त्यही नामबाट चरित्र खोज्दा–खोज्दै हाकु–काले बन्यो । त्यो चरित्र नेवार हो भन्ने पहिल्याइसकेपछि उसले ‘ट’ र ‘ठ’ अक्षरमाथि खुबै ध्यान पुर्‍याएर लवजमा काम गरेको सम्झना अझै ताजै छ ।

आरोहण गुरुकुल नाट्य आराधनाको स्थल थियो । हामी समकालीन हौं । गुरुकुलमै हो, सौगातसँग मेरो पहिलो भेट भएको । त्यतिबेला उसको कुन नाटक हेरें ? सम्झना छैन । तर, हाम्रो साथी समूहबीच सौगातकै अभिनयको चर्चा हुन्थ्यो । म त्यतिबेला गुरुकुलभन्दा बाहिरै रहेर अभिनय सिक्दै थिएँ ।

हामीले खासमा एकअर्काको नाम पहिल्यै सुन्यौं, तर काम अलि पछि मात्रै हेर्‍यौं । पछि मात्रै हाम्रो चिनाजानी भयो । हाम्रो समूहमा खुब सुनिन्थ्यो, ‘सौगात खतरै अभिनय गर्छ ।’ तर, कसरी चिन्ने ? मैले उसको नाटक हेरेको थिइनँ, उसले पनि मेरो नाटक हेरेको थिएन । एकअर्कामा ‘फलानो यस्तो छ’ भन्ने चर्चा चले पनि चिनाजानी चाहिँ पछि मात्रै भयो । मैले उसको अभिनय हेरेको धेरै पछि सौगातले मेरो अभिनय हेरेको हो ।

मैले खेलेको नाटक ‘बुर्की’ हेरेपछि सौगातले भनेको याद छ, ‘तिम्रो काम कत्ति पछाडि हेरें यार, अभिनयको चर्चा सुन्दा सुन्दा बल्ल हेर्न पाएँ ।’ पछि मैले उसको नाटक निरन्तर हेर्न थालें । यस अर्थमा नाटकबाटै मैले सौगातलाई हेरेको हुँ । सौगात स्टेजमा पस्नेबित्तिकै दर्शकमा अर्कै भाइव्स आउँथ्यो । स्टेजमा उसले गरेको छोटोदेखि सबै लामो भूमिकाको नाटक हेरेको छु । थिएटरमा डरलाग्दै अभिनय गर्थ्यो ऊ । अहिले पनि ऊ थिएटरमै गज्जबको काम गर्छ भन्ने सोच्छु ।

सौगातलाई थिएटरमा हेर्दा जति चित्त बुझ्छ, फिल्ममा हेर्दा उति चित्त बुझ्दैन । किन ? ऊ आफ्नो चरित्र यसरी विकास गर्छ कि त्यो पर्दाले धान्न सक्छ जस्तो लाग्दैन । खासमा फिल्ममा सहकार्य नहुँदा यस्तो अभाव खट्किएको हो । फिल्म त सहकार्यमा बन्छ । तर, सौगात जुन स्तरबाट काम गर्न खोज्छ, त्यो स्तरको फिल्म नेपालमा बनेकै छैन । ऊ जसरी आफ्नो चरित्रलाई शतप्रतिशत नै दिन खोज्छ, त्यो हिसाबको फिल्म हाम्रो सोचमै छैन । त्यसैले उसको मिहिनेत खेर गा’को छ । जसरी म चरित्र बनाइरहेको छु, ‘यसरी पनि फिल्म बनाउने सकिन्छ’ भन्नेतर्फ फिल्मकर्मीलाई सौगातले दबाब दिइरहेको छ ।

अहो ! ऊ त्यो सबै कसरी गर्छ ? अजिब–अजिब लाग्छ । ‘लुकामारी’ मा उसले आँखै छड्के पारेर काम गरेको थियो । ‘छड्के’ मा उस्तै मिहिनेत गरेको थियो । ‘अगस्त्य’ मा पनि उस्तै डरलाग्दो काम गरेको छ उसले । ‘अगत्स्य’ को ट्रेलरले नै उसको काम र मिहिनेत बताउँछ । हरेक फिल्ममा ऊ असाध्यै मिहिनेत गर्छ । तर, उसको जत्ति मिहिनेत अरू फिल्मकर्मी किन गर्दैनन् ? प्रश्न यो छ ।
पूरै फिल्ममा एउटै रिदममा संवाद बोलिरहेको हुन्छ सौगात । संवादमा जे हो त्यो ठ्याक्कै बोल्छ, परिमार्जन गरेर बोल्दैन । जुन संवाद उसले बोल्नुपर्ने हुन्छ, हरेक टेकमा ट्याक्क–ट्याक्क उस्तै नै बोल्छ । नाटकमा लामो अभ्यासले होला, संवाद बोल्दा उसको रिदम त्यही हुन्छ । तर, पटकथामा लेखिएकै संवाद हुबहु रटेर बोलिरहेको हुन्छ, त्यो नै सौगातको कमजोरी हो । ऊ किन त्यस्तो गर्छ ? खासमा सौगात संवाद चाँडै बिर्सन्छ, यो कुरा उसैले मलाई भनेको हो । त्यसैले छोटो समयमै पढेर संवाद भन्नु भन्दा लामो समयदेखि अभ्यास गरेको संवाद नै ऊ बोलिरहेको हुन्छ ।

उसले संवादको रिहर्सल आफैं गरिरहेको हुन्छ, सह–कलाकारलाई रिहर्सल गराएर खासै दुःख दिँदैन । हुन त सह–कलाकारसँगको संवादमा रियाक्ट मज्जाले नै गरिरहेको हुन्छ ऊ । उक्त दृश्यमा संवादको अभ्यास जसरी गरेको छ त्यसरी नै बोलिरहेको हुन्छ । ‘तिमी कतिबेला आयौ ?’ भन्ने संवादमा उसले अभ्यास गरेर आएको छ भने हरेक पटकको सटमा एउटै रिदममा त्यो संवाद बोलिरहेको हुन्छ । त्यसमा तल–माथि हुँदै हुन्न ।

खासमा उसले आफ्नै कल्पनामा चरित्रको संसार बनाइरहेको हुन्छ । परिवार, साथीभाइ, राजनीति, समाजभन्दा टाढा बसेर ऊ काम गर्छ । उसको आदत त्यस्तो छ । त्यो कारणले ऊ एकदमै कल्पना गरेर फिक्सन चरित्र निर्माण गर्छ । उसले अभिनय गर्दा निर्देशकले ‘कट’ भन्न बिर्सेको मैले धेरै पटक सुनेको छु । त्यस्तो किन हुन्छ ? किनभने निर्देशकले उसको अभिनय क्षमता बुझ्न नसकेका हुन् ।

सौगातले सुधार्नुपर्ने पक्ष एउटै छ, त्यो हो– समसामयिक विषयवस्तुमाथिको ज्ञान । उसले त कल्पना गरेर एउटा चरित्र निर्माण गरिसकेको हुन्छ, तर हामीकहाँ फिल्ममा अर्कै संसार निर्माण गर्न सक्ने फिल्ममेकिङ भइरहेको छैन । हाम्रोमा ‘यस्सो सापट लिएर’ फर्मुला फिल्म बनिरहेका छन्, ती फिल्ममा त्यो स्तरको चरित्र निर्देशकले कल्पेकै हुँदैन ।

यहाँ सामाजिक विषयवस्तुका फिल्म बनिरहेका छन्, त्यसमा पनि समसामयिक विषयवस्तु राखिएका हुन्छन् । त्यो विषयवस्तु कलाकारले पनि बुझनुपर्छ । सौगात धेरै पुस्तक पढ्छ, अनि चरित्र पनि कल्पना गरेरै सिर्जना गर्छ । त्यसो गर्दा त्यो चरित्रसँग दर्शकको कनेक्सन टुट्छ । र, फिल्म एकातिर बग्छ, चरित्र अर्कोतिर बग्छ ।

समसामयिक विषयलाई सौगातले नजरअन्दाज गरेको छ । उसले समाज बुझ्नुपर्छ । कुनै समय मैले उसलाई ‘समसामयिक विषय बुझ्नु जरुरी छ है सौगात’ भनेको पनि थिएँ । त्यतिबला उसले भनेको थियो, ‘यस्तो विषयले मेरो टाउको दुख्छ यार ।’ तर, हाम्रोमा यस्ता फिल्मकर्मी आएनन्, जसले सौगातलाई यी विषयको महत्त्व बुझाइदियोस् । ऊ फिल्मको कथाभन्दा पनि चरित्रसँग धेरै प्रभावित भइरहेको देख्छु ।

म उसलाई सोध्छु बेलाबेला– कुनै फिल्ममाथि काम गर्दा त्यसमा के मज्जा लाग्यो ? ऊ सधैं भन्छ, ‘यो चरित्र रमाइलो छ यार ।’ हो, कलाकारका लागि हरेक चरित्र लोभलाग्दो हुन्छ । तर, म चरित्रभन्दा पनि कथा हेरिरहेको हुन्छु । ऊचाहिँ चरित्रमै लोभिइरहेको हुन्छ, म सोच्छु– कथा पनि त त्यही अनुसारको बन्नुपर्छ । त्यसैले सौगातले स्क्रिप्ट छनोटमा पनि विशेष ध्यान दिनुपर्छ । उसले स्क्रिप्टतर्फ ध्यान नपुर्‍याउनुको खास जवाफ रोचक छ । ऊ प्रायः भनिरहेको हुन्छ, ‘स्क्रिप्टको काम लेखकको हो, कलाकारको काम त चरित्र चित्रण हो ।’ ऊ सेटमै पनि चरित्रमाथि नै खुबै रमाइरहेको हुन्छ, तर कथा कता दौडिरहेको छ ? त्यतातिर उसको ध्यान हुँदैन । उसको अहिलेको समस्या नै त्यही हो । ऊ आफू साह्रै मिहिनेत गर्छ, तर मिहिनेतको फल खान पाइरहेको छैन ।

सौगात एक इमानदार व्यक्ति हो– नम्र, मायालु र दयालु । ऊ जनावरप्रेमी पनि हो । एकपटक उसले घरमा बाँदर पालेको थियो । फिल्ममा करिअर सुरु गरेदेखि नै हामी नजिक हुन थाल्यौं । ‘हाइवे’ बाट हामी बढी नजिकिन थाल्यौं । हामीले सँगै थुप्रै उट्पट्याङ काम गरेका छौं । हामी काठमाडौं भन्दा उपत्याकाबाहिर हुँदा अक्सर गफिन्छौं । सुटिङका बेला घण्टौं गफ हुन्छ । विदेश यात्रामा हुँदा होस् कि सुटिङमा, फरक–फरक विषयमा घण्टौंसम्म गफ हुन्छ, कहिले पारिवारिक गफ हुन्छ त कहिले जोक मात्रै गरेर दिन बित्छ ।

हामीले एक पटक वर्कसप गर्ने योजना पनि बनाएका थियौं । हामीमा अभिनयको भोक छ, तर त्यो गर्ने तौरतरिका बिर्स्यौं भन्ने लाग्यो । त्यसैले निश्चित समयका लागि सँगै बसेर आवासीय वर्कसप गर्ने छलफल भयो– अनुप बराललगायतका शिक्षकलाई बोलाउने, आ–आफैं खर्च उठाउने अनि अन्य युवा कलाकारसँगै वर्कसप गर्ने ! मैले उसलाई ‘ल तिमी योजना बनाएर आउ’ भनें । उसले योजना त बनायो, तर तीन महिनाको– तीन महिनासम्म कहिले कता, कहिले कता गएर वर्कसप गर्ने । बजेट पनि एकदमै ठूलो निस्कियो । ‘एकअर्काबाट सिक्नुपर्छ’ भन्ने सोचेर त्यस्तो योजना बनायौं, जुन अझै पूरा हुन सकेको छैन ।

बेलाबेला सौगात र मेरो भनाभन पनि हुन्छ । फिल्म हेरेपछि ‘काम मन पर्‍यो/परेन’ सिधै भनिरहेका हुन्छौं एकअर्कालाई । हामी दुवैजना देखिने फिल्ममा अधिकांश समय ऊ संवाद तयार पारेर आउँछ, कण्ठ गरेर आएको संवाद बोल्छ, त्यसमा म इम्प्रोभाइज गरेर प्रतिक्रियामा बोल्छु । ऊ भन्छ, ‘यस्तो अभ्यास तिमीसँग गर्न रमाइलो लाग्छ ।’ ऊ सानोतिनो संवाद त तुरुन्तै परिमार्जन गर्छ, तर सबैमा परिमार्जन गर्दैन । मचाहिँ तुरुन्तै परिमार्जन गरिदिन्छु । फिल्म क्षेत्रमा उसको योगदानको कदर हामीले गर्नुपर्छ । अभिनयको एउटा शैलीलाई सौगातले मार्गनिर्देश गरेको छ । विपिन कार्कीको काम गर्ने तरिका अर्कै छ, सौगातको बेग्लै ।

सूक्ष्म ढंगले हेर्ने हो भने समकालीन कलाकारको काम गर्ने तरिकामा अन्तर देखिन्छ । त्यसमध्येमा सौगातको छुट्टै विशेषता छ । उसको शैली मात्रै समातेर पनि अभिनयमा अन्य कलाकार आउन सक्ने सम्भावना छ । उसले अभिनय गरेको फिल्मको नाम सबैलाई थाहा नहुन सक्छ, तर उसले त्यसमा निभाएको चरित्र सबैलाई थाहा हुन्छ ।

सौगातले आफ्नो तर्फबाट भयंकर मिहिनेत गरिरहेको छ । उसको क्षमता बुझ्ने भिजनसहितको निर्देशक सौगातले पाउनुपर्छ । मलाई सौगातको मिहिनेत र अभिनय–शैली देख्दा डाहा लाग्छ । त्यो स्तरको काम म गर्न सक्दिनँ, त्यसमा ढुक्क छु ।

कोसेली

वैशाख

- माधव घिमिरे


डााडाकााडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको बास मीठो हावाले ।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।

लाऊा कानैतिर भनी टिपिन् गुर्सिनीले गुराास
नेवार्नीले मधुसुमनले जेल्दिइन् केशपात ।
भोटेनीले मगमग बुकी फूल बााधिन तुनामा
क्वैली बोल्यो वनवन नयाा प्रीतिको सम्झनामा ।।

आए पाखा वन चहुरमा फूल लाखाौ पलाई
को भन्देला सकल यिनको नाम मीठो मलाई ।
मेरै धौलागिरि शिखरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको ।।

मिठो वास्ना मधुपवनमा आज आइरहेछ
यौटा थुंगा वनतिर कतै मुस्कुराइरहेछ ।
कोहो–कोहो भनी वनवनै क्वैली गाइरहेछ
नौलो मान्छे कुसुमपथमा हेर आइरहेछ ।।

चौतारीमा वरपिपलको बोट नौलो लगाउा
छाहारीको तलतिर बसी गीत यौटा म गाउा ।
आई कैल्यै पनि नसकिने चैत–वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।।

वैली जान्छन् कुसुमहरु यी जेठको घाम ओढी
क्वैली जान्छे कुन विरहमा माइती देश छोडी ।
हाासी खेली दुई दिन, कहाा जान्छ यो जिन्दगानी
को लैजाला अमरपुरमा फूलको यो जवानी ।।

बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन्
मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन् ।
कस्तूरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
हुन्नन कैल्यै कुसुम वनमा प्रीतिको गीत बन्द ।।

कोसेली

ऋतु उपासना

- कान्तिपुर संवाददाता


प्राच्य काव्य परम्परामा ऋतुले कालचक्रको भेद मात्रै होइन, चेतना र पदार्थका
जगत्मा घट्ने हरेक साना–ठूला रूपान्तरणतर्फ पनि इंगित गर्छ भन्ने लोकमान्यता छ । महाकवि कालीदासदेखि कवि शिरोमणि
लेखनाथ पौड्यालसम्म सबै सिद्धहस्त कविले ऋतु उपासनालाई आफ्ना काव्यसाधनाको अंग बनाउनुभएको थियो ।
सोही परम्पराबाट आए पनि मन्दाक्रान्ता छन्दमा लेखिएको कविवर माधव घिमिरेको कविता ‘वैशाख’ मौलिक रूपमै नेपाली छ । मन्दाक्रान्ताको नशा ढिलो चढ्छ, तर चढ्छ । शृंगार–रसमा माधव घिमिरेका कविता असाध्यै कर्णप्रिय पनि छन् ।
‘गुहेलीको मधुपर्क’, ‘माइतीको न्यास्रो’, ‘बुकी फूलको बान्की’, ‘कोयलीको डाक’ ले अन्यत्रझैं यस कवितामा पनि वसन्त ऋतुको एक गुह्य परिवर्तनतर्फ इंगित गर्छ वा भनौं यो त्यो गुह्य परिवर्तनको द्योतक हो । जसरी सूक्ष्म रसायनिक किमिया र शिशिरको वैराग्यबाट
विराट वसन्तको अंकुरण हुन्छ, त्यसैगरी हरेक नैराश्य, हरेक विषमतामा ठूलो सिर्जनात्मक शक्ति लुकेको हुन्छ ।
अनेक आपधापीमा जेलिएका समाचारबीच सुटुक्क छन्द कविता पढ्न पाउनु, शिशिरको विरक्तिबाट अचानक वसन्तको अलौकिक दर्शन पाउनुझैं हो । यो कविताले हाम्रो मनमा पनि शान्ति र सौन्दर्य भरिदेओस् ।

 

Page 12
कोसेली

हिन्दु अधिराज्यमा मासिएका हिन्दु देवदेवी !

- मोहन मैनाली


नयाँ वर्षको शुभकामना लेनदेन गरिसकेपछि अब एउटा पात्रो हेरौं, जसले आउने दिनबारे होइन गइसकेका दिनबारे बताउँछ । आगामी दिनमा कुन बाटो हिँड्नुपर्छ भनी सही निर्णय गर्न पछाडि फर्केर हेर्न सघाउँछ । यस पात्रोले आजभन्दा पचास वर्ष पहिले अर्थात् २०३० सालको कुरा बताउँछ । त्यस वर्ष हिन्दु देवदेवी र तिनका गरगहनालाई कस्ता राहु, केतु, शनि आदि ग्रहदशा लागेका थिए, ती देवदेवीले कस्ता दुर्दिन भोग्नुपरेको थियो र देवदेवीको विनाश गर्नेहरू निर्बाध रूपमा यो काम कसरी गर्थे भन्ने देखाउँछ ।
त्यस वर्षको वैशाख १३ गते मकवानपुरको भीमफेदी बजारको पुरानो सुनौला गणेशको मूर्ति चोरी भएको थाहा भयो । त्यो मूर्ति पचास वर्ष पुरानो थियो ।
त्यसको पर्सिपल्ट वैशाख १५ गते मोरङको थलाहको करमयण घाटस्थित राम मन्दिरका बहुमूल्य गहना चोरी भएको थाहा भयो ।
त्यस वर्षको पहिलो महिना वैशाखको अन्त्यमा पूर्वका अरू नराम्रा समाचार आए । तिनका अनुसार, धनकुटाको हुलाक टोलको कृष्ण मन्दिरबाट श्रीकृष्णको ढुंगाको मूर्ति, गोपिनीहरूका पित्तलका चारटा मूर्ति, गरुडको मूर्ति भएको आरती र गोपालजीको आसनसमेत सातवटा मूर्ति चोरी भए । त्यसको लगत्तै २०३० साल वैशाख २९ गते धनकुटाकै माथिल्लो कोप्चेको राम मन्दिरको रामलक्ष्मणको मूर्ति चोरी भएको थाहा भयो । त्यसको अघिल्लो वर्ष पनि धनकुटामा केही मूर्ति चोरिएका थिए । २०३० सालभरमा नेपाल अधिराज्यभरमा मूर्ति र गरगहना चोरी भएका खबर बारम्बार बाहिर आए । मूर्ति चोरी भएका सबै खबर बाहिर आउँदैनथे । त्यसैले त्यस वर्ष योभन्दा धेरै मूर्ति चोरी भएका थिए ।
मूर्ति चोर्न र चोरिएका मूर्ति विदेश तस्करी गर्न चोरहरू इलाम, झापा, धनकुटा, सुनसरी, मोरङ, संखुवासभा, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक, पर्सा, मकवानपुर, तीन सहर काठमाडौं, तनहुँ, रूपन्देही, पाल्पा, स्याङ्जा, बागलुङ, अर्घाखाँची, डोल्पा र बाँकेमा सक्रिय थिए । त्यतिबेला नेपाल हिन्दु अधिराज्य थियो । यस देशको अधिकारको स्रोत ‘आर्य संस्कृतिका अनुयायी हिन्दु धर्मावलम्बी गद्दीनसीन श्री ५ महाराजाधिराज’ होइबक्सन्थ्यो । नेपालको सार्वभौमसत्ता मौसुफमा निहित थियो, ‘कार्यकारिणी, व्यवस्थापिका र न्यायसम्बन्धी सबै अधिकार मौसुफबाट निःसृत’ हुन्थे ।
मौसुफ सरकार संविधानभन्दा माथि होइबक्सन्थ्यो ! मौसुफ सरकार नेपाललाई असली हिन्दुस्तान बनाउने ध्येय भएका श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका वंशज होइबक्सन्थ्यो । त्यतिबेलाको संविधानले त्यस विषयमा गर्व गरेको थियो ।
यस्ता धर्मावलम्बी र प्रतापी हिन्दु राजा भएको देश नेपालमा वैशाखपछि पनि पहिलेका वर्षमा झैं हिन्दु देवदेवीका मूर्ति र गरगहना चोरी र तस्करी हुने क्रम चलिरह्यो । हिन्दुधर्मविरुद्ध यस्तो पाप गर्नेमध्ये थोरै मात्र पक्रिइए, पक्रिएकामध्ये धेरै सजिलै छुटे/छुटाइए ।
हिन्दु अधिपति र कसै–कसैका मान्यताअनुसार, ‘विश्वका एकमात्र हिन्दु सम्राट्’ को छत्रछायामा रहेको देशमा पाप र अधम कति उम्लिएको थियो भने मन्दिर र गुम्बाका पुजारी उनैले पूजा गरेको मूर्ति बेचेको भनी प्रहरीको फन्दामा परेका थिए ।
यसका केही उदाहरण हेरौं । बनेपाको चण्डेश्वरी मन्दिरभित्र रहेको सुनका पाँच थान मूर्ति चोरेको भनी सोही मन्दिरका पुजारीले साविती बयान दिएका थिए । इचंगुनारायण थानको वीर भगवतीको फटिकको मूर्ति चोरी गरेको अभियोगमा मूर्ति किन्ने क्युरियो व्यापारीसँगै त्यस मन्दिरका पुजारी पनि पक्रिइएका थिए ।
२०३० साल भदौ १९ गते बागलुङमा सात थान मूर्ति सहित दुई जना मानिस पक्राऊ परेका थिए । उनीहरूले मुस्ताङको नाकुम गाउँको गुम्बाका सातवटा मूर्ति ल्याएका थिए । ती मूर्ति सोही गुम्बाका पुजारीले बेचेको उनीहरूले बताएका थिए ।
मूर्ति चोर र तस्कर आक्कलझुक्कल मात्रै पक्राउ पर्थे । त्यस वर्ष मूर्ति चोरीका धेरै घटना बाहिर आएकोमा पक्राउ परेका थोरै मात्र घटना बाहिर आएका थिए ।
गिरोहमा संलग्न नभएका ससाना चोर मात्रै पक्राउ पर्थे । केही चोरहरू उनीहरूकै ग्रहदशा वा कुबुद्धिले मात्र पक्राउ परेका थिए । उदाहरणका लागि, मूर्ति काठमाडौंबाट बुटवल पठाउने र त्यस्ता मूर्ति बुटवलमा लिने दुईजना होटलवालाको कुरा गरौं ।
२०३० साल कात्तिकको पहिलो हप्ता बुटवलको खस्यौली बजारबाट काठमाडौंको एउटा होटलका मालिकलाई प्रहरीले पक्राउ गर्‍यो । उनका साथबाट विभिन्न मुद्राका गणेश, शिवजी, भगवती र बुद्धका, ढलोटका १२ वटा मूर्ति पनि समातिए । ती मूर्ति १०० देखि २०० वर्ष पुराना भएको र त्यतिबेला ती तीन लाखमा बिक्री हुने अनुमान प्रहरीले गरेको थियो ।
यो घटनापछि प्रहरीले थाहा पायो— काठमाडौंको होटलबाट बुटवलको खस्यौलीको होटलका नाममा मूर्ति पठाइँदो रहेछ । त्यसपछि ती मूर्ति विदेश पठाइँदो रहेछ । यसअघि दुईपल्ट यसै गरी मूर्तिहरू विदेश पठाइसकिएको रहेछ ।
यत्रो ठूलो सफलता पाउन प्रहरीले गर्नुपर्ने मिहिनेत केही गर्नु परेनछ । त्यो घटनासँग सम्बन्धित समाचारअनुसार, मूर्ति पठाएको भनी होटल मालिकका नाममा पठाएको पत्र ‘गल्तीले प्रहरीको हातमा पर्न जाँदा अभियुक्त पक्राउ गर्न प्रहरी सफल’ भएको रहेछ ।
पक्राउ परेका मूर्ति चोर प्रहरीले समाते पनि भाग्न सक्थे । २०३० साल भदौ १५ गते इलामको तल्लो भेगमा एक जना मान्छेलाई चारवटा मूर्तिसहित प्रहरीले पक्रियो । प्रहरीले इलाम लैजाँदा बाटोमा पर्ने चिसापानी गाउँबाट ऊ भाग्यो ।
त्यतातिर प्रहरी आफ्नो अधीनमा रहेका मानिसलाई भाग्न नदिने काममा चुस्त थियो । मूर्ति चोर भाग्नुभन्दा ६ महिना पहिले झापाबाट इलाम लैजान लागेका झापा कान्डका पाँचजना कैदी ‘भाग्न लाग्दा’ प्रहरीले उनीहरूलाई इलामको सुखानीमा गोली हानेर मारेको थियो । मूर्ति चोर्ने मान्छे भने प्रहरीको घेराबाट सजिलै भाग्न सक्थे ।
मूर्ति चोर ठूलो रहेछ, उसले निकै धेरै मूर्ति चोरी गरेको रहेछ अनि उसलाई ग्रहदशा लागिहालेछ भने पनि प्रहरी दाहिना भइदिँदो रहेछ । नपत्याए २०३० सालको साउन र भदौको एउटा घटना हेरौं ।
स्वीट्जरल्यान्ड जाने यात्रीका ६ वटा सुटकेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयले जाँच्न खोज्यो । ‘चाबी अर्कैले लगिसकेको’ भन्दै ती यात्रीले ‘चाबी लिएर आएपछि फिर्ता लैजाने’ भनी सुटकेस त्यहीं छाडेर गए । पछि एक जना विदेशी चाबी लिएर आए र सुटकेस मागे । भन्सारले ती सुटकेस खोल्दा त्यहाँ ८० वटा मूर्ति र चित्रांकित पुराना पुस्तक भेटिए । ती मूर्तिमध्ये अधिकांश १०० वर्षभन्दा पुराना र पुरातात्त्विक महत्त्वका थिए, जुन विदेश लैजान पाइँदैनथ्यो । ।
भन्सारले यसका नाइकेलाई पक्राउ गरी मान्छे, मूर्ति र पुस्तक प्रहरीलाई बुझायो । भदौको अन्त्यमा प्रहरीले ती मूर्ति बेवारिसी अवस्थामा फेला परेको भनी स्थानीय प्रशासनलाई बुझायो ।
ती मूर्ति काठमाडौंमा किनबेच हुँदा प्रहरीले थाहा पाएन, विमानस्थल पुग्दासम्म पनि थाहा पाएन । भन्सारले मान्छेसमेत बुझाएका ती मूर्ति प्रहरीले बेवारिसे बनायो । ती मूर्ति तस्करी गर्ने मानिसलाई जोगायो ।
अर्थात्, हिन्दु अधिपतिको प्रहरी बल यसरी हिन्दु देवीदेवता चोरेर हिन्दुधर्म मास्ने अभियानमा लागेका तस्करलाई जोगाउन लागिपरेको थियो ।
प्रहरीले समातेका सानातिना मूर्ति कारोबारीलाई त पक्राउ गर्थ्यो, तर ‘अदालतमा पेस गरेका प्रमाण नपुगेकाले’ तीमध्ये धेरै अदालतबाट छुट्थे ।
करिब तीन हात लामो मूर्ति बिक्री गर्न लागेको अभियोगमा अदालत लगिएका एक जनालाई अदालतले २०३० साल असोजमा धरौटीमा छाडिदियो । झापाको काँकरभिट्टा भन्सार कार्यालयले १२ थान मूर्तिसहित पक्रिएका दुई जना अमेरिकी नागरिकलाई मेची अञ्चल अदालतले १००० रुपैयाँ जरिवाना गरी छाडिदियो ।
२०३० साल कात्तिकमा बागमती विशेष अदालतले प्राचीन मूर्ति चोरी गरेको अभियोग लागेका एक जनालाई प्रमाण नपुगेको भनेर अभियोगबाट मुक्ति दिलायो । दार्जिलिङका दुई जनालाई भने एक/एक हजार जरिवाना गर्‍यो ।
अँ, डोल्पा जिल्ला विशेष अदालतले पाँच थान बुद्ध मूर्ति खरिद गरेको डोल्पाको ताक्षी गाउँ बस्नेसमेत ६ जनालाई भने थुनामा राख्न आदेश दियो ।
मूर्ति चोरीका मामलामा यसरी आँखा चिम्लिदिनाले मूर्ति चोरी सजिलै उम्कन्थे, त्यसैले यो अपराध ब्याप्त थियो । मूर्ति चोर आँटिला भएका थिए । त्यसैले त २०३० सालको अन्त्यसम्ममा आइपुग्दा मूर्ति चोर सरकारको संग्रहालयमा राखेको मूर्ति चोर्न सक्ने भइसकेका थिए । उनीहरूले ललितपुरको म्युजियमबाट बज्रबाराहीको मूर्ति चोरेका थिए । सुनको जलप लगाइएको सो मूर्ति चौधौं शताब्दीमा बनेको थियो ।
२०३० साल अन्त्य भयो, अरू वर्ष पनि अन्त्य हुँदै नयाँ वर्ष लाग्दै गए । तर, मूर्ति चोरी अन्त्य भएन । २०४१ सालमा मूर्ति चोरीका घटना हेर्दा यो कुरा प्रस्ट हुन्छ । त्यस वर्ष ३० वटा जति मूर्ति चोरी भएका समाचार बाहिर आए । मूर्ति चोरीका सबै घटना बाहिर नआउने भएकाले त्यस वर्ष योभन्दा बढी मूर्ति चोरी भएको हुनुपर्छ । यीमध्ये तीनवटा घटनामा प्रहरीले चोरलाई पक्राउ गर्‍यो । अदालतले त्यस वर्ष दुईवटा मूर्ति चोरेको र एउटा मूर्ति ठाउँ सारेको मुद्दाको फैसला गर्‍यो ।
मूर्ति चोरी गरी बेचेको आरोपमा डेढ वर्षसम्म कैद र ४५ हजार रुपैयाँसम्म सजाय गरिएको थियो । स्मरणीय छ, २०३० सालमा मूर्ति विदेश लैजान लागेका अमेरिकी नागरिकलाई नेपालको अदालतले एक हजार रुपैयाँ जरिवाना गरी छाडेको थियो । यस कुराले नेपालको अदालतले मूर्ति चोरीका मामलामा विदेशीलाई कम र नेपालीलाई बढी सजाय गर्ने गरेको प्रस्ट हुन्छ ।
२०४१ सालमा चोरहरूले बढी मूर्ति चोरेका जिल्लाहरूमा भक्तपुर, काभ्रे, दोलखा र ललितपुर थिए । उनीहरूले भक्तपुरका चारवटा, बनेपाका चारवटा, दोलखाका तीनवटा र ललितपुरका तीनवटा मूर्ति चोरेका थिए ।
त्यस वर्ष मूर्ति चोरहरूले अनौठा देवताको मूर्ति पनि चोरी गरेका थिए । त्यस्ता देवता हुन्— बलभद्र । बलभद्र नेपालमा धानखेतीसम्बन्धी शिक्षा दिने पहिलो देवता हुन् भन्ने विश्वास गरिन्छ । बलभद्रको मूर्तिको शिरमा छुवाएको तोरीको तेल शरीरमा दलेमा प्रसव पीडामा भएकी महिलाको बच्चा सजिलै जन्मन्छ भन्ने कथा छ । उनको पाँच फिट अग्लो ढुंगाको मूर्ति अंशुवर्माले स्थापना गराएका थिए ।
२०४२ सालको फागुनमा आइपुग्दा मूर्ति चोरी होइन, डकैती हुन थालेको थियो । बलभद्रको मूर्ति चोर्न १२ जना डाँका मिनी–बस लिएर आएका थिए । उनीहरूलाई कसैले रोक्न सकेन ।
चैत महिनामा चाहिँ मूर्ति डाकाहरू क्रेनले मूर्ति उखेल्ने गरी हिम्मतिला भएका थिए । एक रात क्रेन लिएर भक्तपुर गएका डाँकाहरूले दरबार चोकमा रहेको भूपतिन्द्र मल्लको पूर्ण कदको शालिक क्रेनको सहायताले उखेल्न खोजेका थिए । स्थानीय बासिन्दाले विरोध गरेपछि र त्यहाँ खटिएका प्रहरी अधिकारीले त्यसो गर्न नदिएपछि उनीहरू रित्तो हात फर्कनुपरेको थियो ।
यति शक्तिशाली डाँकालाई मूर्ति डकैती गर्न रोक्ने ती प्रहरी अधिकारीलाई केही समयपछि ‘तालिमका लागि’ बेलायत पठाइएको थियो । यसो भएपछि डाँकाहरूको काम निर्विरोध हुन सक्थ्यो ।
भक्तपुरको यो कान्ड सरकारी सञ्चार माध्यममा आएन । निजी क्षेत्रका सञ्चार माध्यममा मात्र आयो । यस घटनाको लगत्तै सरकारी सञ्चार माध्यममा मूर्ति चोरीका घटना रोक्न प्रहरी सक्रिय भएको अचम्मलाग्दो समाचार आयो । २०४१ साल चैत २८ गते प्रकाशित सो समाचारका अनुसार, मूर्ति चोरी गर्ने तीन जनाको गिरोहलाई प्रहरीले काठमाडौंमा पक्राउ गर्‍यो । उनीहरूबाट प्रहरीले सातवटा मूर्तिसमेत बरामद गर्‍यो ।
सोही समाचारअनुसार, पशुपति वनकाली नजिकै रहेको चण्डेश्वरको मूर्ति फलामको रडले उखेली बिक्री गर्न हिँडिरहेको अवस्थामा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको थियो ।
क्रेनले मूर्ति उखेल्न खोज्नेलाई पक्राउ गर्न चासो नराख्ने प्रहरीले ‘फलामको रडले मूर्ति उखेल्ने’ लाई पक्राउ गरेको भनी आफ्नो बहादुरी प्रचार गर्‍यो । यसो गर्दा क्रेन कान्ड अलि मत्थर हुन सक्थ्यो ।
मूर्ति चोरहरूको यस्तो बिगबिगी भएपछि र उनीहरूले यो काम निर्बाध गर्न पाएपछि भक्तजनहरू आफ्ना देवीदेवताको रित्तो प्रतिष्ठान हेरेर मन कुँड्याएर बस्न बाध्य भए । चोरले सजिलै चोर्न नपाउन् भनेर मूर्ति र तोरणलाई फलामे रडले बेरेर राख्न भक्तजनहरू बाध्य भए । अर्थात्, सदियौंदेखि स्वतन्त्रतापूर्वक बसेका देवदेवी रडले घेरिएर बस्नुपर्‍यो । मूर्ति चोर जेल पर्नु नपरेपछि मूर्तिलाई नै जेल हाल्नुपर्‍यो ।
आफ्ना देवदेवीको टाउको भाँचेर चोरले लगेपछि भक्तजनहरूले सिमेन्टको नयाँ टाउको बनाएर देवदेवीको शरीरमा जोडिदिए । कलात्मक र प्राचीन शरीरको शिरमा आधुनिक, तर कुरूप टाउको बसाइएका देवदेवी पुज्न भक्तजनहरू बाध्य बनाइए ।
हिन्दु धर्मावलम्बीहरूका लागि यी मूर्ति अजिब मूर्ति होइनन् । मूर्तिमा देवीदेवताको प्राणप्रतिष्ठा गरिएको
हुन्छ । यसो भएपछि ढुंगा वा धातुका ती मूर्ति मूर्तिमात्रै रहँदैनन् साक्षात् देवदेवी बन्छन् । त्यसैले भक्तजनहरू मूर्तिलाई देवीदेवता नै ठानेर पूजा गर्छन् । मूर्ति हटाइदिनु भनेको हिन्दु धर्म मान्नेलाई देवता नजिक हुन नदिनु हो, धर्म मास्नु हो ।
आर्य संस्कृतिका अनुयायी हिन्दु धर्मावलम्बी श्री ५ महाराजाधिराज गद्दीनसीन होइबक्सेका बेला यस्तो अधर्म कसरी फैलियो होला ? नेपाललाई असली हिन्दुस्तान बनाउने ध्येय भएका श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका वंशज हिन्दु अधिपतिले यस्तो अधर्म किन रोकिबक्सेन होला ? यी मूर्ति चोरी भएका बेला मौसुफ राणाकालमा जस्तो निरीह होइबक्सन्नथ्यो । सार्वभौमसत्ता मौसुफमा निहित थियो । मौसुफ संविधानभन्दा माथि होइबक्सन्थ्यो । मौसुफले गरेका कामबारे कहीं, कतै, कसैले – न्यायपालिका वा व्यवस्थापिकामा समेत– औंला उठाउन पाइँदैनथ्यो । तैपनि हिन्दु धर्मप्रति भएको निरन्तर हमला मौसुफले किन रोकिबक्सेन ?
यसको जवाफ खुलेर होइन, दबेर मात्र दिने गरिन्थ्यो— मौसुफ सरकार निरीह भएकाले र शासनमा सर्वत्र छाएका अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाह स्वयं यस काममा संलग्न भएकाले ।
२०४१ सालमा श्री ५ अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाह अन्तर्राष्ट्रिय युवा वर्ष राष्ट्रिय समितका अध्यक्षका हैसियतमा युवा वर्गलाई ‘रचनात्मक कार्यक्रमका माध्यमबाट राष्ट्र निर्माणमा संलग्न गराउन’ सक्रिय होइबक्सन्थ्यो । मौसुफ राष्ट्रिय खेलकुल परिषद्का संरक्षक होइबक्सन्थ्यो । त्यसैले मौसुफ यस्ता काममा संलग्न होइबक्सन्नथ्यो भन्न मिल्ला ।
यस प्रसंगमा हिन्दु राजाको जगजगी भएका बेला नेपालको अर्थतन्त्र र परराष्ट्र मामिलाका दह्रो खम्बा भेषबहादुर थापाले आफ्नो किताब ‘राष्ट्र–परराष्ट्र’ (पेज. १८१) का दुईवटा अनुच्छेदमा लेखेका यी कुरा ख्याल राख्नुपर्छ, ‘राजाका कान्छा भाइ श्री ५ धीरेन्द्र शान्ति सुरक्षा हेरिबक्सन्थ्यो । मौसुफ ‘मुख्यगरी प्रहरी र तिनले अपनाएको सुरक्षामा मात्र सीमित’ होइबक्सन्थ्यो ।’
यस कुरालाई अर्को अकाट्य तथ्यसँग जोड्नुपर्छ । त्यो हो— नेपालमा राजतन्त्र शक्तिशाली भएका बेला, नेपाल हिन्दु अधिराज्य भएका बेला, नेपालले हिन्दुधर्मको रक्षा गर्ने नीति लिएका बेला नेपालमा हिन्दुधर्मलाई जति क्षति पुग्यो त्यति क्षति त्यसअघि पुगेको थिएन, त्यसपछि पनि पुगेको छैन । नेपालमा हिन्दुधर्म विरोधी यस्तो काम लगातार लामो समयसम्म निर्बाध रूपले कुनै विधर्मीले कहिल्यै गर्न सकेको थिएन ।
उहिल्यै धेरै वर्ष पहिले बंगालका सुल्तानले
काठमाडौं उपत्यकामा हमला गरी पाटन, पशुपतिनाथ र स्वयम्भूका मन्दिर, मूर्ति र चैत्यको विनाश गरेका थिए । उनी चाँडै फर्की गएकाले उनले निरन्तर विनाश गर्न पाएनन् । सनकी राजा रणबहादुर शाहले पनि केही मूर्ति र मन्दिरको विनाश गर्ने प्रयास गरेका थिए तर उनले पनि धेरै विनाश गर्न पाएनन् । माओवादीले लडाइँ गरेका बेला एकाध ठाउँका मन्दिर र मूर्ति विनाश गरेका थिए । तर राजा सर्वेसर्वा भएका बेलामा हिन्दुधर्म र सम्पदा निरन्तर र निर्बाध विनाश भए । यस्तो विनाश किन सम्भव भयो भने यसरी विनाश गर्ने बंगालका सुल्तान झैं विधर्मी थिएनन्, राजा रणबहादुर झैं सनकी थिएनन् र माओवादी झैं धर्मविरोधी थिएनन् । यिनलाई हिन्दु धर्मका संरक्षकले संरक्षण दिएका थिए ।
(सबै फोटो ः युर्गेन शिकको ‘द गड्स आर लिभिङ द कन्ट्री’ बाट)