दृष्टिकोण
सहकारी सुधारको सूत्र
- रूप खड्का
हालैका दिन ‘सहकारी’ चर्चाको शिखरमा पुगेको छ । मुलुकमा ३१ हजारजति सहकारी संस्था छन्, जसमा बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य छ । खासगरी ठूला बचत तथा ऋण सहकारी संस्था सहकारीको मूल्य र मान्यताअनुसार सदस्यकेन्द्रित हुनुको सट्टा व्यापारमुखी भएका छन् । उदाहरणका लागि सहकारी ऐन २०७४ अनुसार सहकारी संस्थाले आफ्ना सदस्यको मात्र बचत स्वीकार गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्थालाई कतिपय सहकारी संस्थाले उल्लंघन गरेका छन् । केही सहकारी संस्थाले गैरसदस्यबाट ठूलो मात्रामा बचत स्वीकार गरेका छन् र सर्बसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरेका छन् ।
सहकारी ऐनअनुसार सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी र सरकारी ऋणपत्र तथा ट्रेजरी बिल खरिद गर्नेबाहेक अचल सम्पत्ति, सेयर र अन्य कारोबारमा लगानी गर्न नहुने व्यवस्था छ । तर, कतिपय सहकारी संस्थाले सर्वसाधारणको बचत रकम ठूलो मात्रामा हाउजिङ, रियल स्टेट, सेयर कारोबार, मिडिया, व्यक्तिगत कार्य जस्ता अनुत्पादक क्षेत्रमा लगाएका छन् । कतिपय सहकारीले बिनाधितो, ऋण फिर्ता गर्न नसक्ने र सामान्य चिनजानसम्म नभएकालाई ऋण दिएको पाइएको छ । वित्तीय जोखिमको विश्लेषण नगरी एकपटक लिएको ऋण चुक्ता नभई पटकपटक र गैरसदस्य तथा कार्यक्षेत्र बाहिरकालाई समेत ऋण दिँदा बेथिति बढेको छ । संस्थाका सञ्चालक तथा व्यवस्थापकको नाममा ऋण जारी गर्ने र सहकारी संस्थाको वित्तीय स्रोत व्यक्तिगत लाभमा लगाएर अर्बौं रकम घोटाला गरिएको छ ।
सहकारी ऐनअनुसार एउटै परिवारका एकभन्दा बढी व्यक्ति एकै अवधिमा सञ्चालक तथा लेखा समितिमा रहन नहुने व्यवस्था छ । तर कतिपय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो परिवारका सदस्यलाई एकाउन्टेन्ट बनाउने, नक्कली खाता खोल्ने र हुन्डीलगायतका गैरकानुनी माध्यम प्रयोग गरेर रकम अपलचलन गरेका समाचार प्रकाशमा आएका छन् । यसैगरी कतिले सहकारीमा जम्मा गरिएको रकमको दुरुपयोग गरेको सन्दर्भमा ‘सहकारी पारपाचुके’ र ‘नक्कली अंशबन्डा’ गरेका जस्ता घटना पनि चर्चामा आएका छन् । यति मात्र नभई कतिपय सहकारी संस्था बचतकर्तालाई ठग्ने उद्देश्यले मात्र स्थापना भएको पनि अनुमान छ । यी विभिन्न कारणले बचतकर्ताको अढाई खर्ब रुपैयाँभन्दा बढी रकम विचलन भएको अनुमान छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै पाँच प्रतिशत र प्रतिव्यक्ति नौ हजार जति पर्न आउँछ ।
यसरी अपचलन गरिएको रकममा निमुखा जनताले मकै पोलेर, साग बेचेर, घर सफा गरेर, भुइँ पुछेर, कपडा धोएर, ठेलागाडा चलाएर, ज्यामी काम गरेर, गलैंचा बुनेर, होटलमा भाँडा माझेर, गिट्टी, ढुंगा फुटाएर, परदेशमा ५० डिग्रीभन्दा बढीको गर्मीमा पसिना चुहाएर कमाएको रकम पनि समावेश भएको छ । कतिले बिरामी भएका बेला औषधिमूलो गर्न र वृद्धावस्थामा जीवन निर्वाह गर्नका लागि गाँस कटाएर बचाएको रकम सहकारीमा डुबाएका छन् । जीवनभर नोकरी गरेर वृद्ध अवस्थाको लागि सञ्चित गरेको, विदेशमा रोजगारी गरेर कमाएको र नियमित रूपमा ब्याज आउँछ भनेर घरजग्गा बेचेर सहकारीमा जम्मा गरेको रकम पनि डुब्न गएको छ । सहकारीमा रकम जम्मा गर्न स्रोत खुलाउनु नपर्ने भएकाले पनि कतिले कालोधनलाई सफेद बनाउने हेतुले सहकारीमा रकम जम्मा गरेको अनुमान छ ।
रगत र पसिना बगाएर सहकारीमा जम्मा गरेको रकम आवश्यक परेको समयमा झिक्न नपाएपछि न्यून आय भएका कतिपयले औषधोपचार गर्न पाएका छैनन् । कतिको तनावले गर्दा स्वास्थ्य बिग्रँदै गएको छ । कतिको मनस्थिति बिग्रेको छ भने कतिले आत्महत्या गरेका छन् । छोराछोरीलाई पढाउन नपाएको, घरभाडा तिर्न नसकेको जस्ता गुनासा प्रशस्तै सुनिन्छ । यसरी सहकारी समस्याले राष्ट्रिय रूपमै विकराल रूप लिएको छ र सहकारीपीडितहरू आन्दोलन गर्न बाध्य भएका छन् । सहकारी समस्याले सर्वसाधारण, पत्रकार, सरकार, राजनीतिज्ञलगायत समाजका विभिन्न वर्गको ध्यानाकर्षण गरेको छ र सडक र संसद् दुवैलाई तताएको छ । सहकारीको समस्या लामो समयदेखि बल्झिँदै आएको भए पनि सरकारको उदासीनताले गर्दा यो समस्या सुल्झिनको सट्टा फैलिँदै गएको छ ।
यस किसिमको समस्या सिंगो सहकारी क्षेत्रको समस्या भने अवश्य होइन । यो समस्या सीमित ठूला सहकारीमा संलग्न सहकारीको सिद्धान्त, मूल्य र मान्यताविपरीत कार्य गर्ने लोभीपापीहरूका कारणले सिर्जना भएको हो । खासगरी ठूला बचत तथा ऋण सहकारी संस्थाले ठूलो मात्रामा सहकारी कानुन उल्लंघन गरेकाले यस क्षेत्रमा समस्या उत्पन्न भएका हुन् । तिनीहरूका कारण हाल २५ सहकारी संस्थालाई समस्याग्रस्त संस्थाका रूपमा घोषण गरिएको छ । सयौं सहकारी ठगका विरुद्ध उजुरी परेका छन्, कतिका विरुद्ध पक्राउ पुर्जीर् जारी गरिएको छ । कति फरार भएका छन् त कतिले कारबाहीमा पर्ने डरले देशै छाडेका छन् । कतिले मुद्दा मामिला खेपिरहेका छन्, कति कारबाहीमा परेका छन् । कति धरौटीमा छुटेका छन्, कति हिरासतमा रहेका छन् र कति झ्यालखानामा परेका छन् । सहकारीमा भएको ठूलो वेथितिबाट पीडित बचतकर्ताहरू आन्दोलनमा उत्रेपछि सहकारी क्षेत्रका समस्या छताछुल्ल भएका छन् ।
सहकारी सुधारका क्षेत्र
सहकारी क्षेत्रमा देखापरेका समस्या सुल्झाउन र यस क्षेत्रको सुधार गर्न २०२४ सालमा मोहनमान सैंजूको अध्यक्षतामा केन्द्रीय सहकारी छानबिन समिति गठन भएको थियो । त्यसयता सांसद सूर्य थापाको अध्यक्षतामा २०८१ मा गठित संसदीय छानबिन विशेष समितिसम्मका १३ वटा टोली, कार्यदल, समिति तथा आयोगहरूले समस्या पहिचान गरेर समाधानका बाटा देखाए पनि तिनीहरू कार्यान्वयन नभएकाले सहकारीका समस्या सुल्झिनको सट्टा बल्झिँदै गएका छन् । सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित पछिल्लो संसदीय छानबिन विशेष समिति २०८१ ले तयार गरेको विस्तृत प्रतिवेदन सार्वजनिक भई सरकारले त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेपछि भने लाखौं बचतकर्ताहरूमा सहकारीे समस्या समाधान हुन्छ कि भन्ने झिनो आशा पलाएको छ ।
अब सरकारले सहकारी सुधार हुन्छ भन्ने कुरा व्यवहारमा देखाएर सहकारीपीडितलाई न्याय दिनुका साथै अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको सहकारीको मर्मअनुसार व्यापक सुधार गरेर आर्थिक विकासको गति अगाडि बढाउनु जरुरी छ । सहकारीमा देखापरेका समस्या सरकारले पहिले नै समाधान गरेको भए यसले विकराल रूप लिने थिएन । लाखौं सहकारी सदस्यले दुःख पाउने थिएनन् । सहकारीको सुधारका लागि विभिन्न आयोग, समिति तथा कार्यदलले दिएका सुझावमध्ये हाल सान्दर्भिक तथा उपयोगी सुझावहरू छानेर कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयन गर्न आवश्यक केही नीतिगत, कानुनी, संस्थागत तथा प्रशासनिक सुझाव यस्ता छन् ः
नीतिगत व्यवस्था ः मुलुकमा संघीयता लागू भएपछि सहकारी संघ, प्रदेश तथा स्थानीय तिनै तहको कार्यक्षेत्रअन्तर्गत राखिएको छ । यस सन्दर्भमा १२ वर्ष अगाडि अपनाइएको सहकारी नीतिमा सहकारीको सिद्धान्त, उद्देश्य तथा मर्मअनुसार परिमार्जन गर्नु आवश्यक भएको छ । संघ, प्रदेश तथा स्थानीय तहको सहकारी नीतिमा एकरूपता कायम गरिनुपर्छ ।
बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र, सदस्य तथा गैरसदस्यसँग सम्बन्धित निक्षेप तथा ऋणको सीमा, ब्याजसम्बन्धी व्यवस्थाको समीक्षा गरिनुपर्छ । सहकारीको निरीक्षण तथा अनुगमन गर्ने विशेष प्रणाली र निश्चित रकमसम्मे बचतको बिमालगायतका विषय पनि महत्त्वपूर्ण छन् । सहकारीको पुँजीको सीमा तोक्ने र सो नपुगेकालाई एकीकरण गर्ने वा खारेज गर्नेतर्फ पनि कदम चाल्नुपर्छ । सहकारीको मर्मअनुसार सदस्यकेन्द्रित भई कारोबार गर्ने सहकारीलाई करलगायतका विभिन्न सुविधा प्रदान गर्नुपर्छ ।
कानुनी सुधार ः सहकारीसम्बन्धी उपयुक्त नीति तय भएपछि त्यसलाई कार्यान्वयन गर्न विस्तृत र दोहोरो अर्थ नलाग्ने गरेर स्पष्ट कानूनी व्यवस्था गरिनुपर्छ । सहकारी ऐन २०७४ मा सहकारीको मूल मान्यता तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुसारका सबै प्रावधान समावेश गरिनुपर्छ । उदाहरणका लागि बेलायतको राचडेलमा स्थापना भएको विश्वकै प्रथम आधुनिक सहकारी संस्थाका संस्थापकहरूले प्रतिपादन गरेका सहकारीका सात नियममा शिक्षाको प्रवर्धन एक थियो । त्यसअनुसार विभिन्न मुलुकका सहकारी कानुनमा प्रत्येक सहकारी संस्थाले शिक्षा कोषको व्यवस्था गरेर हरेक वर्ष मुनाफाको निश्चित प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था गरिएको पाइन्छ । तर हाम्रो सहकारी ऐन यस किसिमको छुट्टै कोषको व्यवस्था गर्न चुकेको छ । यसलाई सहकारी प्रवर्द्धन कोषको एउटा सानो अंगका रूपमा राखिएको छ, जसले सहकारी शिक्षाले प्राथमिकता नपाएको देखाउँछ ।
अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार छुट्टै शिक्षा कोषको व्यवस्था गर्नका साथै सहकारीसम्बन्धी अन्य असल अभ्यासहरू अंगीकार गर्नुपर्छ । यसैगरी सहकारी ऐनमा बचत तथा ऋण सहकारीेसम्बन्धी प्रावधानलाई थप प्रस्ट्याइनुपर्छ । सहकारीसम्बन्धी संघ, प्रदेश तथा स्थानीय तहको कानुनमा एकरूपता कायम गरिनुपर्छ र सहकारीको अवधारणासँग मेल नखाने अन्य कानुनलाई संशोधन गर्नुपर्छ ।
संस्थागत व्यवस्था ः सहकारी संस्था नियमन गर्न अधिकारसम्पन्न प्राधिकरण स्थापना गरिनुपर्छ । त्यसमा ‘हाम्रो मान्छे राम्रो’ भन्ने होइन कि ‘राम्रो मान्छे हाम्रो’ भन्ने असल मान्यताको आधारमा विज्ञ, अनुभवी, सहकारीको विकासका लागि कटिबद्ध, दीर्घकालीन दृष्टि भएका स्वच्छ तथा इमानदार व्यवस्थापकको समूह गठन गर्नुपर्छ । त्यसमा पार्टीका कार्यकर्ता, बिचौलिया, घुस्याहा प्रवृत्तिका व्यक्तिलाई स्थान दिनु हुन्न । सहकारी संस्थाको संख्या बढ्दै गएको, यसको कार्यक्षेत्र फैलिँदै गएको र आबद्ध जनसंख्या पनि बढ्दै गएकाले सहकारीको प्रभावकारी रूपमा नियमन गर्नका लागि पर्याप्त मात्रामा योग्य, अनुभवी तथा दक्ष कर्मचारीको व्यवस्था गरिनुपर्छ । सहकारी ऐन नियममा व्यवस्था भएअनुसार सहकारी संस्थाले वार्षिक साधारणसभा गर्ने, विवरण तयार गरेर बुझाउने, लेखा परीक्षण गराउनेलगायतका सम्पूर्ण प्रक्रिया समयमै पालना गराउन सक्ने प्रभावकारी सरकारी संयन्त्र विकसित गरिनुपर्छ । सहकारी संस्थाहरूलाई डिजिटलाइज गर्ने र वातावरणमैत्री बनाउने उपाय अवलम्बन गर्ने बेला पनि आइसकेको छ । अधिकांश सहकारी संस्था स्थानीय तथा प्रदेशस्तरका हुने भएकाले सहकारीलाई प्रभावकारी रूपमा निरीक्षण तथा अनुगमन गर्नका लागि प्रदेश तथा स्थानीय तहमा दरिलो संस्थागत व्यवस्था विकसित गरिनुपर्छ ।
यसैगरी कानुनमा व्यवस्था भएका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष जस्ता संस्थाहरू गठन गरिनुपर्छ । निश्चित रकमभन्दा माथिको कारोबार हुने बचत तथा ऋण सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकले निरीक्षण र सुपरिवेक्षणको व्यवस्था गर्नुपर्छ ।
शिक्षा तथा चेतना ः सहकारीलाई यसका मूल्य र मान्यताअनुसार निरन्तर सञ्चालन गर्नका लागि यससम्बन्धी शिक्षा तथा चेतनाको ठूलो भूमिका हुन्छ । बेलायतमा सन् १८४४ मा सर्वप्रथम सहकारीसम्बन्धी नियम विकसित गर्दादेखि नै शिक्षालाई आत्मसात् गरिएको थियो । सन् १९९५ मा अन्तर्राष्ट्रिय सहकारी गठबन्धनले अपनाएका सहकारीका सात सिद्धान्तमा ‘शिक्षा, तालिम र सूचना’ लाई एउटा महत्त्वपूर्ण सिद्धान्तका रूपमा लिइएको छ । हुन त हाम्रो सहकारी ऐनले सहकारीले आफ्ना सदस्यलाई शिक्षा, सूचना र तालिम प्रदान गर्नुपर्ने भन्ने व्यवस्था गरेको भए पनि व्यवहारमा यो लागू भएको पाइँदैन ।
इमानदारिता, समानता, एकता, सहयोग, सामाजिक उत्तरदायित्व र अरूको हेरचाह सहकारीका मूल मान्यता हुन् । सहकारीमा आबद्ध हुनेहरूले त्यसको पालना गर्नुपर्छ । जसरी भए पनि व्यापारिक मुनाफा कमाउने र रातारात धनी बन्नेका लागि सहकारी उपयुक्त व्यवसाय होइन । यसैगरी सहकारी राजनीति तथा अन्य संकीर्ण भावले प्रेरित भई व्यक्तिगत लाभ उठाउन चाहनेहरू रहने थलो पनि होइन । सहकारी यसका मूल्य र मान्यताअनुसार आफ्नो र समुदायको हित संयुक्त रूपमा हासिल गर्ने भावनाले ओतप्रोत व्यक्ति आबद्ध हुने संस्था हो । यसैले सहकारीको सदस्य बन्न चाहनेलाई सदस्य हुनुभन्दा पूर्व सहकारीसम्बन्धी विस्तृत रूपमा जानकारी दिनुपर्छ । सदस्य भइसकेपछि पनि यसका बारेमा पुनर्ताजगी प्रशिक्षण दिइरहनुपर्छ ।
कारबाही ः सहकारीको मूल्य र मान्यताविपरीत काम गर्ने र सहकारी कानुन उल्लंघन गर्नेहरूलाई कानुनअनुसार हदैसम्मको कडा कारबाही हुनुपर्छ । यस किसिमको कारबाही राजनीतिक वा अन्य सामीप्यअनुसार आफ्नो र बिरानो भन्ने आधारमा वा कसैलाई फसाउने र कसैलाई बचाउने हिसाबले होइन निष्पक्ष रूपमा हुनुपर्छ । कारबाही मन लागी हिसाबले नभई कसुरको परिमाणका आधारमा सबभन्दा ठूलो अपराध गर्नेहरूबाट सुरु गर्नुपर्छ । सहकारीको रकम दुरुपयोग गर्नेलाई राज्यको सेवा सुविधाबाट वञ्चित गर्नुपर्छ । राजनीतिक नियुक्ति गर्नु हुँदैन, राजनीतिक दल तथा नागरिक समाजमा स्थान दिनु हुँदैन र सामाजिक बहिष्कार गर्नुपर्छ ।
यतिखेर सहकारीपीडितको रकम फिर्ता गर्ने कुराले उच्च प्राथमिकता पाउनुपर्छ । सहकारीको साधन दुरुपयोग गर्ने सहकारी संस्था र तिनीहरूका सञ्चालक, व्यवस्थापक र परिवारका सदस्यको चल–अचल सम्पत्ति रोक्का तथा लिलाम गरेर सर्वसाधारणको डुबेको रकम फिर्ता गर्नुपर्छ । त्यसबाट पूर्ति नभएको रकम सहकारी प्रवर्धन कोषको व्यवस्थालगायत विभिन्न माध्यमले खास गरेर साना बचतकर्तालाई रकम फिर्ता गर्नेतर्फ अविलम्ब कदम चालिनुपर्छ ।
प्रोत्साहन र पुरस्कार ः सहकारीले पिछडिएका र विपन्न समूहलाई छुने, ग्रामीण क्षेत्रमा आर्थिक गतिविधिहरूको विस्तार गर्ने, रोजगारी बढाउने, गरिबी घटाउने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउँछ । यसैले सहकारीको मर्मअनुसार सदस्यकेन्द्रित भई राम्रो कार्य गर्ने सहकारीलाई राज्यले करलगायतका विभिन्न सुविधा दिनुपर्छ, तिनीहरूका गतिविधिलाई व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्छ र तिनीहरूलाई राष्ट्रिय रूपमा पुरस्कृत तथा सम्मानित गर्नुपर्छ ।
हरेक वर्ष चैत २० गतेलाई भव्य रूपमा राष्ट्रिय सहकारी दिवसका रूपमा र चैत महिनालाई सहकारीसम्बन्धी विभिन्न कार्यक्रम गरेर सहकारी महिनाका रूपमा मनाउने व्यवस्था गर्नुपर्छ । २०८२ साललाई सहकारी वर्षका रूपमा मनाएर सहकारी क्षेत्रमा व्यापक रूपमा नीतिगत, कानुनी, प्रक्रियागत, संस्थागत सुधार गरेर कार्यान्वयन गरिनुपर्छ ।
निष्कर्ष
सहकारी नेपालको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण पक्ष हो । हाल मुलुकमा ३१ हजारजति सहकारी संस्था छन्, जसमा ७४ लाख सदस्य छन् । यस क्षेत्रले झन्डै ९४ हजार जनसंख्यालाई प्रत्यक्ष रोजगारी दिएको छ । यी संस्थामार्फत ४ खर्ब ७८ अर्ब बचत परिचालन भएको छ भने ४ खर्ब २६ अर्ब ऋण लगानी भएको छ ।
सहकारीमा स्थानीयपन हुन्छ । यसले स्थानीय जनतालाई एकआपसमा आबद्ध गर्छ । स्थानीय साधन परिचालन गर्छ र स्थानीय अर्थतन्त्रको विकासमा ठूलो योगदान दिन सक्छ । केही सीमित व्यक्तिले सहकारी कानुन उल्लंघन गरेर सरकारीको मूल मान्यताविपरीत काम गरेकाले यस क्षेत्रमा विभिन्न समस्या देखापरेका भए पनि सहकारीको अवमूल्यन गर्न मिल्दैन । विभिन्न नीतिगत, कानुनी, संस्थागत तथा प्रक्रियागत सुधार गरेर सहकारीलाई यसको मूल मान्यता तथा सिद्धान्तअनुरूप स्थापित गरेर अर्थतन्त्रको सबल तथा दिगो खम्बाका रूपमा विकसित गर्दै जानुपर्छ ।
दृष्टिकोण
किशोरकिशोरीलाई यौन शिक्षा
- अमृता अनमोल
अहिलेका किशोरकिशोरीमा यौनिकता शिक्षा कस्तो छ ? उनीहरू माया, प्रेम, यौन तथा प्रजनन शिक्षा र यौनिकतालाई कसरी बुझ्छन् ? धेरैलाई लाग्न सक्छ— पाठ्यक्रममा समावेश छ, सूचना र सञ्चारमा पहुँच छ, राम्रै बुझेका छन् । तर, व्यवहारमा त्यस्तो रहेनछ । अक्टोबर ११ अर्थात्, अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आयोजित रूपन्देहीका तीन दर्जनभन्दा बढी मावि तहका किशोरकिशोरीसँग छलफल गर्दा त्यही अनुभूति गरायो । किशोरकिशोरीमा यौनिकता शिक्षाबारे बुझ्नुपर्ने ठूलो खाडल छ । त्यसलाई अभिभावक र विद्यालयले पुर्नुपर्नेछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका व्यक्ति किशोरकिशोरी हुन् । सामान्यतया यो उमेर मानसिक र भावनात्मक रूपले केही सिक्ने र पढाइ पूरा गर्ने समय हो । किशोरकिशोरीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न यौन र यौनिकता शिक्षा आवश्यक छ । किशोरावस्थामा प्रजनन अंगमा शारीरिक परिवर्तन आउँछ । यसले मानसिक परिवर्तन ल्याउँछ । यौनप्रति कौतुहलता जाग्न थाल्छ । धेरै किशोरकिशोरी यौन विषयका बारेमा साथी, सञ्चारमाध्यम तथा अन्य माध्यमबाट थाहा पाउँछन् । तिनमा यौनका रहस्यमयी विषय मात्र देख्छन् । त्यसले फरक सूचना र मान्यता सिकाउँछ । यौनिकताको गलत बुझाइले यौन कौतुहलता झन्झन् बढाउँछ । कौतुहल
बढ्दा कोही यौन हिंस्रक बन्न सक्छन् । कोही यौन हिंसाका सिकार हुन्छन् । यही कारण पछिल्लो समय किशोरीमाथि धेरै यौन हिंसा भएका घटना पनि सार्वजनिक भएका छन् ।
हुन त, पाठ्यक्रममा कक्षा ६ देखि नै प्रजनन तथा यौन शिक्षा समेटिएको छ । तर, धेरै शिक्षकले किशोरकिशोरीले छर्लंग बुझ्ने गरी पढाएको पाइँदैन । संकोचका कारण शिक्षक आफैं अलमलमा हुन्छन् । यौनिकता शिक्षाबारे सार्वजनिक सञ्चारमाध्यममा पनि केही सूचना आउँछन् । ती पूर्ण हुँदैनन् । यसले किशोरकिशोरीलाई झन् समस्यामा पार्दो रहेछ । किशोरकिशोरीबीच मित्रवत् सम्बन्ध नभई गलत आकर्षण र सम्बन्ध बढाउँदो रहेछ ।
लिंग, लैंगिक पहिचान, लैंगिक भूमिका, आकर्षण, यौनानन्द, प्रजनन यौनिकता आदि यौन शिक्षाका विषय हुन् । यौनिकतासम्बन्धी ज्ञान र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रिया यौनिकता शिक्षा हो । यसमा शारीरिक, मनोवैज्ञानिक र सामाजिक पक्ष जोडिएका हुन्छन् । जसले समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न शिक्षा दिन्छ । यौनिकता भनेको यौन सम्बन्ध होइन, यौन सम्बन्धका बारेमा हाम्रा विचार, मूल्यमान्यता, धारणा र दृष्टिकोण हो । तर, यसलाई सभ्यता, इज्जतको नाममा खुलेर बोल्ने र छलफल गर्ने गरिँदैन । कतिपय किशोरकिशोरी विद्यालय उमेरमै यौनसम्पर्कको अनुभव गर्ने हुन्छन् । यौनिकता शिक्षा त्यस्ताका लागि अझ महत्त्वपूर्ण छ । धेरै किशोरकिशोरीले यस उमेरमा यौन सम्बन्ध राख्दा के असर पर्छ जान्दैनन् । यौन तथा प्रजनन अंग परिपक्व बनेका हुँदैनन् । यस्तो बेला यौन सम्बन्ध राख्दा जननेन्द्रियहरूमा घाउ, चोटपटक लाग्ने हुन्छ । असुरक्षित यौन सम्बन्धबाट यौन रोगको संक्रमण हुन सक्छ । एचआईभी संक्रमण हुन सक्छ । पाठेघरको क्यान्सर हुने सम्भावना दोब्बर रहन्छ । यस्तो कुरा शिक्षकले विद्यार्थीलाई बुझ्ने गरी बताउनुपर्छ ।
किशोरावस्था विपरीत लिंगीको बोली, व्यवहार र अन्य पक्षप्रति प्रभावित हुने उमेर हो । यसले एकअर्काप्रति मोह जाग्छ । त्यही मोहले प्रेमको भ्रम दिन्छ, यौन सम्बन्धमा पर्न सक्छन् । मोह तीव्र आकर्षण भएकाले क्षणिक अवस्थामा गरिएको निर्णय अपरिपक्व हुन्छ । एकअर्काप्रति समर्पित भई यौनिक व्यवहार गरेमा जोखिममा पर्ने सम्भावना धेरै हुन्छ । ठीक त्यस्तै अवस्था थियो किशोरकिशोरीको । कार्यक्रममा ६० विद्यालयका एक सयभन्दा बढी किशोरकिशोरी उपस्थित थिए । किशोर र किशोरी सहपाठी त थिए तर मित्र थिएनन् । उनीहरू आपसमा खुलेर बोल्दैनथे । एकै कक्षामा पढ्ने उनीहरूबीच मित्रता थिएन । मित्रता भनेको साथी तथा दुई वा दुईभन्दा बढीबीच आपसी स्नेह र प्रेम हो, तर त्यस्तो कदापि थिएन । स्नेह, सहानुभूति, समभाव, इमानदारिता, परस्पर समझदारी, साथसाथमा खुसी हुने, विश्वास गर्ने आफ्ना मनका भावना तथा अनुझव व्यत गर्ने हुँदैनथ्यो । कक्षा ४ मा पुगेपछि अलग अलग कुर्सीमा बस्न थालेका उनीहरू त्यसयता खुला रूपमा बोल्दैनथे । तर, केही जोडी थिए, जो आँखा जुधाउने, लजाउने र यौन उत्तेजक हाउभाउ गर्थे । जो मायाका नामको मोह र भ्रम थियो । यसले उनीहरूलाई गलत बाटोमा लैजाने संकेत गर्दै थियो ।
किशोरावस्थामा विपरीत लिंगीसँग बोल्दा, शरीरका अंग छुँदा वा छोइँदा आनन्द अनुभूति भएको हुन सक्छ । तर, कसैले शरीरका अंगमा गलत तरिकाले छोयो वा हेर्यो भने नाइँ भनेर विरोध गर्नुपर्छ । त्यतिमात्रै होइन आफ्नो भरोसा भएको व्यक्तिलाई भन्नुपर्छ । जस्तो कि, यौनिक आशयले छुनु, चिमोट्नु, अँगालो हाल्नु, म्वाइँ खानु, शरीरका विभिन्न भागहरूमा सुमसुमाउनु, यौनिक हिंसा हुन् । कसैको इच्छाविपरीत, लोभलालचमा परेर, डरत्रास देखाएर, झुक्काएर कसैको यौनिकतामा नकारात्मक असर पर्ने गरी गर्ने कार्य गर्नु यौन हिंसा हो । यस्तो कुरा किशोरकिशोरीलाई बुझाउनुपर्छ । पछिल्लो समय स्वास्थ्य संस्थामा किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरु भएका छन् । तिनमा गोपनीयताका साथ समस्याका बारेमा पैरवी र स्वास्थ्य परीक्षण हुन्छ । विद्यालयले किशोरकिशोरीको पहुँच त्यहाँसम्म पुर्याउनुपर्छ ।
किशोरावस्थामा प्रेममा परेको भन्ने जोडी धेरै भेटिन्छन् । प्रेम भनेको माया मात्र होइन जिम्मेवारी हो । प्रेमले ऊर्जा भर्दै जीवनलाई अगाडि बढाउन उत्साह प्रदान गर्छ । तर, किशोर उमेरको प्रेमले जिम्मेवारी निभाउन सक्दैन । यस्तोमा अभिभावक र शिक्षकले किशोरकिशोरीलाई यातना दिनु हुँदैन । ‘तिमीहरू अहिले असल साथी मात्र बन । एकअर्काकाका लक्ष्यमा पुग । त्यसबेलासम्म पनि प्रेम रहिरह्यो भने मात्रै विवाह र भावी जीवनका बारेमा सोच’ भनिदिनुपर्छ । अभिभावक र शिक्षकले खुलेर किशोरावश्था, यौन आकर्षण र यौनिकताका कुरा गरिदिने हो भने किशोरकिशोरीले आफूमा आएका समस्या बताउन सक्छन् । ती समस्या जटिल नहुँदै समाधान गर्न सकिन्छ ।
किशोरावस्था भावनामा बहकिने, के सही र के गलत भन्ने छुट्याउन नसक्ने संवेदनशील उमेर हो । यो उमेरमा जथाभाबी बहकिन नदिन र सही निर्णय लिन सक्ने बनाउन पनि यौन शिक्षा आवश्यक छ । विद्यालयले किशोरकिशोरीको यौनिकता शिक्षाका लागि भरपर्दो वातावरण तयार गरिदिनुपर्छ । शिक्षक सामाजिक सुरक्षाको खम्बा बनिदिनुपर्छ । विद्यालयले थोरै अभिभावकीय भूमिका निभाउँदा किशोरकिशोरी, अभिभावक, परिवार र समुदायलाई स्वास्थ्य सेवालगायतमा जोड्न र शारीरिक एवं मानसिक स्वास्थ्य राम्रो बनाउन सेतुको भूमिका खेल्न सक्छ । किनकि, शिक्षक किशोरकिशोरीका लागि ज्ञान र शिक्षाका भरपर्दा माध्यम हुन् । अभिभावकको कुरा विश्वास नगर्ने किशोरकिशोरीले पनि शिक्षकका कुरामा विश्वास गर्छन् । विद्यालयले ख्याल राख्ने हो भने धेरै किशोरहरूलाई यौन हिंसातिर अग्रसर भई अपराध कर्म गर्नबाट जोगाउन सकिनेछ । किशोरीलाई पनि सुरक्षित बनाउन सकिनेछ ।