You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
समाचार

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले उठाए लिपुलेकको मुद्दा

सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको रहेको स्पष्ट छ : प्रधानमन्त्री ओली
सीमा विवाद नेपाल–भारत दुई पक्षले समाधान गर्ने विषय हो, नेपालको दाबीमा हाम्रोतर्फबाट कुनै कमी हुँदैन, त्यसलाई कमजोर गर्न सम्झौता गरिएको होइन, बुझिदिनुहोला : राष्ट्रपति सी
- लक्ष्मी लम्साल,राजेश मिश्र

बेइजिङ/काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच शनिबार तियानजिनमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा सीसँगको उक्त भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको रहेको स्पष्ट पारेको उल्लेख छ । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा आपत्ति रहेको कुरा राख्नुभएको छ,’ परराष्ट्र सचिव अमृत राईलाई उद्धृत गरिएको प्रेस नोटमा भनिएको छ ।

राष्ट्रपति सीले नेपालको दाबीमा चीनले कुनै दख्खल नदिने बताएको राईले उल्लेख गरेका छन् । परम्परागत रूपमा त्यो नाका प्रयोग भएको हो भन्दै सीले नेपाल–भारतबीचको सीमा विवादमा चीन कुनै पक्ष बन्न नचाहेको जनाएको नोटमा उल्लेख छ । सीको प्रतिउत्तर भन्दै नोटमा राईले लेखेका छन्, ‘सीमा विवाद नेपाल–भारत दुई पक्षले समाधान गर्ने विषय हो, नेपालको दाबीमा हाम्रोतर्फबाट कुनै कमी हुँदैन । त्यसलाई कमजोर गर्न कुनै सम्झौता गरिएको होइन, त्यसलाई बुझिदिनुहोला ।’

चीनस्थित नेपाली दूतावासद्वारा जारी वक्तव्यमा पनि राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै भारत–चीनबीच भएको सहमतिप्रति नेपाल सरकारको कडा आपत्ति रहेको जनाएको उल्लेख छ ।

चीन र भारतले ३ भदौमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका छन् । लिपुलेक नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट ५६ किमियताको भूमि हो । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको उक्त सहमतिलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । उक्त मुद्दालाई भारत र चीन दुवैसमक्ष स्पष्ट तथा बलियो ढंगले राख्न प्रधानमन्त्री ओलीमाथि घरेलु दबाब छ । आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा नेपालको हित र प्रतिष्ठाको विषय सम्बोधन हुने बताएका थिए ।

तियानजिनमा आइतबार र सोमबार हुने सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुन चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबार चीन गएका हुन् । तियानजिनमा ओर्लिएको केहीबेरमै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले नेतृृत्व गरेको नेपाली टोली र सीले नेतृत्व गरेको चिनियाँ टोलीबीच करिब आधा घण्टा वार्ता भएको थियो ।

प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार तियानजिनको अतिथि गृहमा भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीच मित्रवत् सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी भएको छ । दुई नेताबीचको भेटमा सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । अघिल्लो भ्रमणका बेला भएको बीआरआई फ्रेमवर्क सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा पनि दुवै पक्षले जोड दिएका छन् । गत वर्ष प्रधानमन्त्री भएयता ओलीले उत्तरी छिमेकी चीनका राष्ट्रपतिसँग दोस्रो पटक द्विपक्षीय भेटवार्ता गरेका हुन् । गत वर्ष १७–२० मंसिरमा ओलीले चीनको औपचारिक भ्रमण गरेका थिए ।

दूतावासको विज्ञप्तिअनुसार भेटमा नेपाल–चीनका सम्बन्धका विभिन्न पक्षबारे छलफल गर्दै आपसी लाभदायक सहकार्यलाई आगामी दिनमा अझ अगाडि बढाउने दृढता दुवै पक्षबाट भएका छन् । नेपालको विकासमा चीनले पुर्‍याएको निरन्तरको सहयोगप्रति प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेको वक्तव्यमा उल्लेख छ । नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित भई अहिलेसम्म समस्यारहित रहेको प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओको सदस्यता दिलाउन चीनका राष्ट्रपतिबाट समर्थनको समेत आग्रह गरेका छन् । पहिले नै सहमति भइसकेका परियोजनालाई छिटो कार्यान्वयन गर्ने विषयमा जोड दिँदै प्रधानमन्त्री ओलीले बीआरआईअन्तर्गत मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु सहनशीलता र जनस्तरमै मित्रता विस्तारका क्षेत्रमा सहयोगको आग्रह गरेको दूतावासले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने नेपाल सरकारको आकांक्षामा चीनले सहयोग गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ, एससीओलगायतका बहुपक्षीय मञ्चमा नेपालसँग सहकार्य गरिने सीको भनाइ रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालले एक चीन नीतिप्रति देखाएको दृढ समर्थनका लागि सीले धन्यवाद दिएका थिए । बीआरआई परियोजनाको कार्यान्वयनमार्फत सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता पनि राष्ट्रपति सीले दोहोर्‍याएका छन् ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ७० वर्षको कूटनीतिक सम्बन्धमा दुई देश हरेक कठिनाइमा एकसाथ उभिएको जनाइएको छ । परम्परागत र स्थायी मित्र नेपालको विकास र समृद्धिका लागि चीन–नेपाल रणनीतिक सहयोग साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन तयार रहेको मन्त्रालयले जनाएको छ ।

उक्त विज्ञप्तिअनुसार राष्ट्रपति सीले दुवै पक्षले आपसी रणनीतिक विश्वासलाई बढाउनुपर्नेमा जोड दिएका छन् । मुख्य हित र प्रमुख चासोसँग सम्बन्धित मुद्दामा एकले अर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्ने बैठकमा सीको भनाइ थियो । ‘हामीले पारस्परिक रूपमा लाभदायक सहयोगलाई गहिरो बनाउँदै संयुक्त रूपमा बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउनुपर्छ,’ सीको भनाइबारे चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘बन्दरगाह, सडक, पावर ग्रिड, उड्डयन र दूरसञ्चार मार्फत सम्पर्कलाई बलियो बनाउनुपर्छ ।’ कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउन सफल कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सीले बताएका छन् । त्यसका लागि उद्योग, कृषि, पशुपालन, नयाँ ऊर्जा, वातावरण संरक्षण, तेल र ग्यास, आर्टिफिसियल इन्टेलिजेन्स, शिक्षा, स्वास्थ्य, कानुन कार्यान्वयन र सुरक्षा जस्ता क्षेत्रमा सहयोग बढाउन चीनले प्रस्ताव गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको बताएका थिए । ‘नेपाल ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गर्छ र कुनै पनि शक्तिलाई चीनको हितलाई कमजोर पार्न आफ्नो क्षेत्र प्रयोग गर्न दिँदैन,’ ओलीको भनाइबारे चिनियाँ वक्तव्यमा उल्लेख छ । ओलीले लिपुलेपको प्रसंग उठाएको विषयमा चिनियाँ वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन ।

चीन र नेपाल पहाड तथा नदीले जोडिएका छिमेकी भएको एवं पुस्तौंदेखि मित्रताको आनन्द उठाइरहेको बताउँदै दुवै मुलुक शान्तिप्रेमी र आत्मनिर्भर भएको टिप्पणी गरेको राष्ट्रपति सीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार बीआरआईका सन्दर्भमा सीले भनेका छन्, ‘नेपाल र चीन बेल्ट एन्ड रोड सहयोग निरन्तर अगाडि बढिरहेका छन्, यसबाट दुई देशका जनतालाई नजिक ल्याइरहेको छ ।’

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले नेपाल–चीनबीच अवरोध रहेका व्यापारिक नाकालाई छिटो खुलाउन चीनसमक्ष आग्रह गरिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सीले नेपाललाई भूपरिवेष्टित देशबाट जमिनको माध्यमबाट ठूला बजारमा आबद्ध भएको हेर्न चाहेको उल्लेख गरेको खतिवडाको भनाइ छ । बन्द रहेका व्यापारिक नाका खुलाउन चीनले प्रतिबद्धता जनाएको उनले बताए । चीनमा निर्यात बढाउन गुणस्तरीय कृषि उत्पादन, औद्योगिक विकासका लागि चीनको सहयोग रहने राष्ट्रपति सीले भनेको उनले जानकारी दिएका छन् ।

 

समाचार

वैज्ञानिक प्रमाणबिना बालबालिकालाई ‘स्वर्णभस्म’ खुवाउने अभियान

स्वर्णविन्दु प्राशनमा रहने ‘स्वर्णभस्म’ ले रोग प्रतिरोधात्मक क्षमता बढाउने वैज्ञानिक प्रमाण उपलब्ध नभएको विशेषज्ञको तर्क
- प्रशान्त माली

काठमाडौं– बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको ‘स्वर्णविन्दु प्राशन कार्यक्रम’ विवादित बनेको छ । अभियानका रूपमा बालबालिकालाई खुवाइने ‘स्वर्णभस्म’ ले रोग प्रतिरोधात्मक क्षमता बढाउने वैज्ञानिक प्रमाण उपलब्ध नभएको भन्दै नेपाल पिडियाट्रिक सोसाइटीले नै कार्यक्रम स्थगन गर्न माग गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हालै ‘बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ स्वीकृत गरी धनगढीका एक बालकलाई ‘स्वर्णविन्दु प्राशन’ खुवाएर अभियान सुरुवात गराएका थिए । मन्त्रालयले मुलुकभर अभियान चलाउन यस आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बालरोग विशेषज्ञ चिकित्सकहरूको संस्थाले नै विज्ञप्ति जारी गरेर कार्यक्रमप्रति आपत्ति जनाएपछि बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाउने कि नखुवाउने भन्नेमा अभिभावक दुविधामा परेका छन् ।

‘स्वर्णविन्दु प्राशन’ स्वर्णभस्म, मधु (मह) र ब्राम्ही घृत मिलाएर शास्त्रीय विधिद्वारा तयार पारिने अर्धतरल सम्मिश्रण हो । ब्राम्ही घृत गाईको घिउमा घोरताप्रे जस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको हुन्छ । स्वर्णभस्म आयुर्वेद औषधि उद्योगमा परम्परागत विधिबाट उच्च क्यारेटको सुन जलाएर तयार पारिन्छ ।

निर्देशिकामा स्वर्णविन्दु प्राशन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई हरेक महिना एक पटक खुवाउने उल्लेख छ । यो निःशुल्क वितरण गरिन्छ । झाडापखाला, आउँ, रुघाखोकी, सर्दी र ज्वरो भएकालाई खुवाउन निषेध गरिएको छ ।

नेपाल पिडियाट्रिक सोसाइटीले एक वर्षमुनिका शिशुलाई ‘मह’ नखुवाउन र स्वर्णभस्मको ‘इम्युन बुस्ट’ दाबीबारे उच्च गुणस्तरीय प्रमाण नआएसम्म सावधानी अपनाउन अभिभावक र चिकित्सकलाई आग्रह गरेको छ । सोसाइटीले अध्ययन–अनुसन्धानबाट सुरक्षित प्रमाणित भएमात्रै स्वर्णभस्म प्रयोग गर्न सुझाएको छ ।

बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाउने सरकारी अभियानप्रति असहमति जनाउँदै सोसाइटीले विज्ञप्तिमार्फत भनेको छ, ‘हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुमा स्वर्णकल्पबाट प्रतिरक्षा प्रणाली वृद्धि हुने आधारको अभाव, हेब्बी मेटल (गोल्ड) सम्बन्धी जोखिम र औषधि व्यवस्था विभाग (डीडीए) को दर्ता/ब्याच परीक्षण सार्वजनिक नभएका कारण उक्त अभियान अघि नबढाउन सरकार समक्ष आग्रह गर्छ ।’

सोसाइटीले ‘क्लिनिकल प्रमाणको अभाव, हेब्बी मेटल (गोल्ड) बाट हानिको सम्भावना देखिन सक्ने, केही आयुर्वेदिक उत्पादनमा सिसा (लिड), पारो इत्यादि भेटिने गरेको र सिसा विषाक्तता (लिड प्वाइजिङ) का घटना पनि दर्ता भएको’ उल्लेख गर्दै विभागको दर्ता प्रमाणपत्र नम्बर, वैधता सार्वजनिक नभएसम्म स्वर्णविन्दु प्राशन दिन नहुने जनाएको छ ।

सोसाइटीका सचिव डा. रामहरि चापागार्इंले वैज्ञानिक प्रमाणीकरण नभएको ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमले राज्यको लगानी मात्र खेर जाने दाबी गरे । मन्त्रालयले अभियानका रूपमा सञ्चालन गर्दा ठूलो संख्यामा बालबालिकामा नकारात्मक असर पर्ने जोखिम रहेको उनले बताए ।

‘विभिन्न अध्ययन र अनुसन्धानले पनि स्वर्णविन्दु प्राशनले बालबालिकाको बौद्धिकता अभिवृद्धि, स्मरणशक्ति वृद्धि र बोली राम्रो हुने तथ्य फेला पारेका छैनन्,’ उनले भने । सोसाइटीले बाल स्वास्थ्य बलियो बनाउन स्वर्णविन्दु प्राशनमा भन्दा पनि स्तनपान, समयमै खोप, भिटामिन–ए, उचित पोषण र समयमै उपचार प्रणालीमा लगानी गर्न आग्रह गरेको छ । नेपाल आयुर्वेद चिकित्सक संघले भने नेपाल पिडियाट्रिक सोसाइटीको विरोध अर्थहीन भएको दाबी गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरेर आयुर्वेदको प्राचीन ग्रन्थ (करिब ४ हजार वर्ष पुरानो) ‘काश्यप संहिता’ मा स्वर्णविन्दु प्राशन उल्लेख रहेको र स्वर्ण प्राशनले बालबालिकाको शारीरिक, मानसिक र रोग प्रतिरोधक क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने जिकिर गरेको छ ।

संघको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वीय सभ्यतामा नवजात शिशुलाई शुभकार्यमा घिउ र मह चटाउने प्रचलन पनि छ । आयुर्वेदको प्राचीन अभ्यास स्वर्णविन्दु प्राशनले बालबालिकाको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ । साथै यो एक असल, सुरक्षित र प्रभावकारी अभ्यास रहेको हालसम्म उपलब्ध प्रमाणहरूको अभिलेखमा देखिन्छ ।’

संघका अध्यक्ष एवं आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बालरोगका चिकित्सकको एकतर्फी विरोधबाट आयुर्वेद क्षेत्रमा हालसम्म भएका अनुसन्धान, परम्परा, मूल्यमान्यता र संस्कृतिलाई बेवास्ता गर्न नमिल्ने दाबी गरे । ‘स्वर्णभस्मले बालबालिकाको प्रतिरक्षा प्रणालीमा सकारात्मक भूमिका खेल्ने विभिन्न अध्ययनले बताएका छन् । मौलिक चिकित्साको जगेर्ना गर्नॅ आधुनिक चिकित्साको पनि दायित्व हो,’ उनले भने, ‘हामी स्वर्णविन्दु प्राशनको असरप्रति सचेत छौं ।’

डा. यादवको दाबीअनुसार स्वर्णभस्म भारत, श्रीलंकालगायत विभिन्न देशका राष्ट्रिय आयुर्विज्ञान संस्थान, आयुर्वेद शिक्षण अस्पतालमा प्रचलित रहेको छ । ‘यसले बच्चाको रुग्णता दर घटेको, स्मरण शक्ति वृद्धि भएको पाइएको छ । यसबाट हालसम्म कुनै प्रकारको असर देखिएको छैन,’ उनले भने ।

‘स्वर्णविन्दु प्राशन’ अभियानलाई लिएर स्वास्थ्य मन्त्रालय र पिडियाट्रिक सोसाइटीका पदाधिकारीबीच शुक्रबार वार्ता भए पनि सहमति जुट्न सकेन । ‘अब चाँडै अर्को बैठक बसेर सहमति गर्छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने । उनका अनुसार प्रादेशिक आयुर्वेद चिकित्सालय दाङबाट २०७९ मा स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको हो । ‘हालसम्म झन्डै ५० हजार जनालाई स्वर्णविन्दु दिइसकेका छौं,’ उनले भने, ‘अहिले निर्देशिका बनाएर वितरण प्रणाली र यसको गुणस्तरलाई थप व्यवस्थित बनाउन मात्र खोजेका हौं ।’

स्वास्थ्य मन्त्रालयले स्वर्णविन्दु प्राशन अभियान चलाउन चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ८० लाख रुपैयाँले १० लाख थोपा तयार हुन्छ । १ थोपा बराबर ०.०५ मि.लि. हुन्छ । ६ महिनादेखि १ वर्षसम्मका लागि एक थोपा, १ देखि २ वर्षसम्मका लागि २ थोपा, २ देखि ५ वर्षसम्मका लागि ४ थोपा खुवाइन्छ ।

कार्यक्रम सञ्चालन हुने स्थान
दाङ, धनगढी र झापाको प्रादेशिक आयुर्वेद चिकित्सालय, त्रिवि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, आयुर्वेद चिकित्सालय नरदेवी, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, गण्डकी आयुर्वेद अस्पताल पोखरा, धौलागिरि आयुर्वेद अस्पताल बागलुङ, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय तनहँॅ, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, राप्ती आयुर्वेद चिकित्सालय दाङ, बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरिया, प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत छन् । दैलेख र जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र, पर्सा, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नुवाकोट, मकवानपुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पनि स्वर्णविन्दु प्राशन खुवाइँदै छ ।

 

समाचार

लुना लुइँटेल बनिन् मिस नेपाल

- रीना मोक्तान

काठमाडौं– स्कुबा डाइभर लुना लुइँटेलले ‘मिस नेपाल २०२५’ उपाधि जितेकी छन् । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१औं संस्करणमा २४ प्रतियोगीलाई पछाडि पार्दै लुनाले मिस नेपाल वर्ल्डको ताज पहिरेकी हुन् ।

‘मिस नेपाल वर्ल्ड २०२४’ आस्माकुमारी केसीले लुनालाई ‘मिस नेपाल वर्ल्ड २०२५’ को ताज पहिर्‍याइदिइन् । स्कुबा डाइभरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । त्यहाँ नर्सिङ अध्ययन गरिन् । ‘युनिभर्सिटी अफ सिड्नी’ बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको उपविजेता बनेकी थिइन् ।

शनिबार भएको फाइनलमा सुरुमा शीर्ष १२ छानिएको थियो । त्यसपछि प्रश्नोत्तर प्रतियोगिता भयो । शीर्ष १२ लाई निर्णायकले मौखिक प्रश्नउत्तर गरेका थिए । अन्तिम शीर्ष चारले भने सोधिएको प्रश्नको उत्तर लेखेर सुनाउनुपर्ने थियो । शीर्ष चारमा छानिएका लुइँटेल, उरुषा भण्डारी, सोनी घले र दीपशिखा नेपाललाई आयोजकले एउटै प्रश्न सोधेका थिए । ‘यदि तपाईंले सौन्दर्य प्रतियोगिताबारे एउटा धारणा बदल्न सक्नुहुन्छ भने त्यो के हुन्छ र किन ?’ भन्ने प्रश्नमा उनीहरूले फरक–फरक विचारसहितको जवाफ दिएका थिए ।

‘म सधैं लर्न, अर्न र रिटर्नमा विश्वास गर्छु, मैले अध्यागमनले हाम्रो पासपोर्टलाई गर्ने व्यवहार देखेकी र भोगेकी छु,’ लुनाले लिखित जवाफमा भनेकी थिइन्, ‘यस्ता मञ्चले विश्वभर रहेका नेपाली युवाहरूलाई फर्कन प्रेरित गर्ने मात्र हैन, नेपालीहरूमा रहेको ब्युटी विथ पर्पसलाई पनि महत्त्व दिन्छ भन्ने धारणा बनोस् भन्ने चाहन्छु ।’ सोही जवाफले नै लुनालाई उपाधि जिताएको हो ।

लुना ‘लर्न, अर्न एन्ड रिटर्न’ अर्थात् ‘सिक, कमाउ र फिर्ता गर’ भन्ने अवधारणामा विश्वास गर्छिन् । उपाधि जितेपछि लुनाले सानैदेखिको सपना पूरा भएको बताइन् । ‘मलाई अहिले एकदम सपना जस्तै अनुभव भइरहेको छ । के यो रियल हो वा ड्रिम ? अहिले म सपना र विपनाको बीचको समयमा छु,’ उनले भनिन्, ‘यो क्राउन देख्दा, हातको फूल देख्दा पूरै विश्वलाई धन्यवाद दिन चाहन्छु । म मेरो परिवारलाई पनि धन्यवाद दिन चाहन्छु । मलाई तालिम दिने ट्रेनर्स र शिक्षकहरूलाई धन्यवाद दिन चाहन्छु ।’

हाल अस्ट्रेलियामा बस्दै आएकी लुनाले पाठशालाबाट एसईई गरेकी हुन् । ग्लोबल म्यानेजमेन्टबाट प्लस टु सकेर १७ वर्षको उमेरमै उनी अस्ट्रेलिया पुगिन् । त्यसपछि नर्सिङ गरिन् । हाल नर्सिङमै मास्टर्स गरिरहेकी लुनाले मिस नेपाल बन्ने सपना सानैदेखि बुनेकी थिइन् । ‘सानैदेखिको सपना भए पनि प्रतियोगितामा सहभागी हुन सकेकी थिइन् । टीभीमै हेर्थें । तर, २०२३ बाट चाहिँ मैले हिम्मत गरें । र, आज मैले यो उपाधि पनि जितें,’ उनले भनिन् ।

सानैदेखि पानीसँग खेल्न मन पराउने लुनाले फिलिपिन्समा स्कुभा डाइभिङ कोर्स गरिन् । र, त्यहींबाट स्कुबा डाइभिङको लाइसेन्स लिइन् । त्यसमा उनलाई दाजुको साथ रह्यो । ‘दाजु स्कुबा डाइबर हुनुहुन्छ, म उहाँबाट यसका लागि प्रेरित भएकी हुँ,’ उनले भनिन् ।

प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता बनिन् । शनिबार गोदावरी सनराइज कन्भेनसन सेन्टरमा आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’को ताज जितिन् । जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालका तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् ।

अन्य उपाधितर्फ ‘मिस कन्फिडेन्ट’ को उपाधि प्रज्ञिका क्षेत्रीले जितिन् । उरुषा भण्डारीले ‘टाइमलेस एलिगेन्स’ र ‘रियल मिस पपुलर च्वाइस’ गरेर एकसाथ दुई उपाधि जितिन् । साइच्छा थापाले ‘डाबर बाटिका मिस ब्युटिफुल हेयर’ जित्दा ‘मिस हेल्थी स्किन’ को उपाधि आरती थापाले पाइन् ।

त्यस्तै, ‘बीवाईडी मिस ग्रिन भिजनरी’ को उपाधि जगदिश्वरी शाहले पाउँदा ‘एन्बियो मिस प्रिस्टिन’ प्रियांका थापाको पोल्टामा पर्‍यो । त्यस्तै, कार्यक्रममा लुना लुइँटेलले ‘मिस डीएचआई’, दीपशिखा नेपालले ‘नेसनल लाइफ मिस इम्पावर्ड च्वाइस’ र स्मृति श्रेष्ठले ‘फारमसी फेस अफ दि इयर २०२५’ को उपाधि जितिन् । स्मृतिले योसहित मिस फोटोजेनिकको उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल भइन् ।

त्यस्तै, सृष्टिकुमारी तामाङले ‘एनसेल मिस ब्युटी विथ पर्पस’ जितिन् । श्रुति महर्जनले ‘द काठमाडौं पोस्ट मिस इन्टेलेक्चुअल’ उपाधि जितिन् । निलिमा पाण्डेले ‘यति वुमन विथ विङस’को उपाधि जितिन् ।
प्रतियोगिताको निर्णायकमा द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापित, मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडा, हिमालय टेलिभिजनका अध्यक्ष श्याम कँडेल, अभिनेत्री आना शर्मा, कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँर, अरेता पब्लिक रिलेसनका सीईओ रुचि पाण्डे, साइमेक्सका सीईओ शाहिल श्रेष्ठ, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस्टर नेपाल २०२३ समर्पणजंग कार्की, डा. सृष्टि श्रेष्ठ प्रजापति र डिजाइनर मनीष राई थिए । प्रतियोगिताको अन्तमा दीपशिखा र लुनालाई एकअर्काको आमुन्नेसामुन्ने उभ्याइएको थियो । उनीहरू दुईमै मिस नेपाल २०२५ को विजेता घोषणा गरिएको हो ।

Page 2
समाचार

हैजा नियन्त्रणमा नआउँदा वीरगन्जका विद्यालय थप ३ दिन बन्द

- शंकर आचार्य

पर्सा– सातायता फैलिएको झाडापखाला तथा हैजा निणन्त्रणमा नआएपछि वीरगन्ज महानगरपालिका क्षेत्रका शिक्षण संस्था थप ३ दिन बन्द गरिएको छ । पर्साको वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा एक सातायता झाडापखाला र हैजाका बिरामीको संख्या ७ सय १२ पुगेको छ ।

तीमध्ये ५ सय १७ बिरामी निको भएर फर्किसकेका छन् । १ सय ९५ जना अझै उपचाररत छन् । वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि शिक्षण संस्था थप तीन दिन बन्द गरिएको हो । महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबारको बैठकले आइतबारदेखि मंगलबारसम्म सबै विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ८ र ९ मा पहिलो पटक र भदौ ११ देखि १३ सम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो । हैजाको संक्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै शिक्षण संस्था थप तीन दिन बन्द गर्ने निर्णय गरिएको महानगरले जनाएको छ । स्वास्थ्य कार्यालय पर्साले शनिबार बिहान सार्वजनिक गरेको तथ्यांकमा ७७ जना नयाँ बिरामी स्वास्थ्य संस्थाहरूको सम्पर्कमा आएको उल्लेख गरेको छ । शनिबार ३३ जना आईसीयूमा, ४ जना एचडीयूमा र १ सय ५८ जना सामान्य वार्डमा उपचाररत छन् । हालसम्म पर्सामा आरडीटी परीक्षणबाट १ सय ६२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय १ जना उपचारपछि ‘डिस्चार्ज’ वा अन्यत्र ‘रिफर’ भएका छन् । साउन २८ देखि वीरगन्जको तराई अस्पतालमा झाडापखालाका बिरामी आउन थालेका थिए । भदौ ५ मा यहाँ पहिलो पटक हैजा संक्रमण पुष्टि भएको थियो ।

महानगरले बन्द अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्यांकी सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ । यस्तै, हैजा नियन्त्रणका लागि महानगरले ‘स्ट्रिट फुड’, पानीपुरी, चाट, पुच्का, भाजालगायतका खानेकुरामा पूर्ण प्रतिबन्ध लगाइएको छ । टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन गरेर पानी उमालेर पिउन, फलफूल–तरकारी राम्ररी धोएर पकाएर खान, काँचो–बासी नखान र सरसफाइमा ध्यान दिन सचेतना अभियान तीव्र पारिएको छ । त्यस्तै मधेश प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त आरडीटी किट र औषधि अस्पताल र स्थानीय तहमा वितरण गरिएको छ । प्रकोपको कारण पत्ता लगाउन पानीका नमुना केन्द्रीय प्रयोगशालामा पठाइएको छ ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालय बन्द अवधिमा शिक्षक तथा कर्मचारीले समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसलाई निरन्तरता दिन निर्देशन दिइएको छ । ‘महानगरले हैजा तथा झाडापखालाका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । बोरिङ र खानेपानी संस्थानमार्फत वितरण हुने पानीको पाइपलाइन व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ,’ लामिछानेले भने ।

 

समाचार

भेप तस्करीमा मुछिएपछि हुम्लाका वन अधिकृत लोकजंग शाही ‘फरार’

- कान्तिपुर संवाददाता

काठमाडौं– विद्युतीय चुरोट (भेप) तस्करीमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले छानबिन अघि बढाएपछि डिभिजन वन कार्यालय हुम्लाका निमित्त वन अधिकृत लोकजंग शाही ‘फरार’ भएका छन् । डिभिजन वन कार्यालय हुम्लाबाट ५ हजार केजी सेतक चिनी उल्लेख गरेर बाँकेको नेपालगन्जका लागि जाँचपास गरिएको कन्टेनरमा तस्करीका ३९ हजार ९ सय थान भेप फेला परेपछि हुम्लाका डिभिजन वन अधिकृत शाही अनुसन्धानको घेरामा तानिएका थिए ।

त्यसपछि विभागले अनुसन्धान सुरु गरेसँगै शाही सम्पर्कविहीन भएका हुन् । उनीसँगै हुम्लामा संकलित सेतक चिनी जडीबुटी भनेर जाँचपास लिने कन्टेनरका मालिक कुन्साङ दोर्जी लामा पनि फरार भएका छन् । राजस्व अनुसन्धान विभागका एक अधिकारीले फरार दुवै जनालाई पक्राउ गरिदिन नेपाल प्रहरीलाई पत्राचार गरिएको जानकारी दिए । विभागको पत्रपछि फरार दुवै जनाको खोजी कार्य भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘विभागले दुवै जनालाई उपस्थित गराउन पत्र पठाएको थियो, अहिले संलग्न व्यक्तिको खोजी कार्य जारी छ,’ ती प्रहरी अधिकृतले भने । लोकजंग विगत १६ वर्षदेखि हुम्ला वन कार्यालयमा कार्यरत रहेको पनि खुलेको छ । कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक लामाले हुम्लाको समर्थन राष्ट्रिय वनबाट संकलन गरी नाम्खा गाउँपालिका–१ मा घाटगद्धी गरिएको सेतक चिनी भन्दै गएको ३ भदौमा ५ हजार केजी जडीबुटी नेपालगन्जसम्म लैजान अनुमतिपत्रका लागि निवेदन दिएका थिए ।

त्यसको पर्सिपल्ट ५ भदौमा वन अधिकृत शाहीले सेतक चिनी लैजान हुम्लादेखि नेपालगन्जसम्मका रुटमा पर्ने जिल्ला तथा इलाका हुँदै जान अनुमति दिएका थिए । त्यसपछि वनकै दुई कर्मचारी सन्तोष खत्री र कृष्णबहादुर हमालले नेपालगन्जसम्म पुग्ने रुट उल्लेख गरेर जाँचपास पत्र जारी गरेका थिए । यहीबीच तस्करीका भेप भित्रिएको सूचनाका आधारमा राजस्वको टोलीले निगरानी सुरु गरेर सुराकी परिचालन गरिसकेको थियो ।

जाँचपास गरिएको कन्टेनर ७ भदौमा लामाले हुम्लाकै सिमकोटका २७ वर्षीय छिरिङ लामा तथा मुगुका ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय भूमि रोकायसहित नेपालगन्जतर्फ पठाएका थिए । भूमि कन्टेनरका चालक हुन् । जनक र छिरिङ लामाका सहयोगी हुन् । तीनै जना जाँचपास गरिएको कन्टेनर लिएर बाँकेतर्फ प्रस्थान गरेकामा त्यसको पिछा गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) को सादा पोसाकका टोलीमार्फत राजस्वले पिछा गराएको थियो ।

त्यही क्रममा सशस्त्र प्रहरीको टोलीले दैलेखको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सशस्त्रको टोलीको सहयोगमा खिट्की जिउलाबाट कन्टेनर र त्यसमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएको थियो । सशस्त्रले कन्टेनर नियन्त्रणमा लिएको जानकारीपछि राजस्वको कोहलपुर कार्यालयका कर्मचारीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत राजमार्ग क्षेत्रमै पर्ने बाँगे सिमलमा बाँगेसिमलमा कन्टेनर जिम्मा लिएका थिए ।

त्यसपछि राजस्वले सशस्त्रको सुरक्षामा कन्टेनर कोहलपुर कार्यालय पुर्‍याएर खोल्दा २ हजार ४ सय ६ केजी सेतक चिनीसँगै ‘ईएलएफबीएआर’ ब्रान्डका ३९ हजार ९ सय थान तस्करीका भेप बराम भएको थियो । कन्टेनरमा फेला परेको भेपको बजार मूल्य करिब १० करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । वनले जाँचपासका क्रममा कन्टेनरमा ५ हजार केजी जडीबुटी उल्लेख गरेको थियो । तर, कन्टेनरको माथिल्लो भागमा सेतक चिनी र त्यसभन्दा मुनि भेप राखेर पठाएको भेटिएको थियो ।

अनुसन्धानका क्रममा भेप तस्करीमा वनकै अधिकृत शाही र जडीबुटी व्यापारी भनिएका लामाको संलग्नता खुल्ने आधारहरू भेटिएपछि राजस्वले दुवै जनालाई अनुसन्धानका लागि उपस्थित गराउन प्रहरीलाई पत्र पठाएको हो । ‘तस्करीबाट भित्रिएका भेप केही समय गोप्य ठाउँमा लुकाएर राखिएको र जब वनका कर्मचारीसँग सेटिङ मिल्यो, त्यसपछि सेतक चिनीको कन्टेनर देखाएर नेपालगन्जसम्म लैजाने र त्यसपछि भारत पठाउने तयारी रहेको देखिन्छ,’ अनुसन्धानमा संलग्न राजस्व स्रोतले भन्यो ।

हाल सम्पर्कविहीन बनेका लामा र वन अधिकृत शाहीबीच विगतमा पनि ‘अस्वाभाविक साँठगाँठ’ देखिएको र त्यही सम्बन्धका आधारमा शाही निमित्त वन अधिकृत भएको मौकामा तस्करीका भेप पास गराउने योजना बनाएको हुन सक्ने अनुसन्धान स्रोतको भनाइ छ । हुम्लाका डिभिजन वन अधिकृत चन्द्रवीर गुरुङ ६ साउन २०८२ देखि कार्यालयकै कामको सिलसिलामा सुर्खेतस्थित कर्णाली प्रदेश वन मन्त्रालय काजमा झरेका थिए । गुरुङ सुर्खेत झरेपछि निमित्त प्रमुखका रूपमा शाहीले जिम्मेवारी सम्हालेका थिए । त्यसपछि सेतक चिनीको आवरणमा भेप तस्करी गरेर बाँके हुँदै भारतसम्म लैजान लामाले सक्रियता बढाएको खुलेको छ ।

समाचार

‘कुलिङ अफ पिरियड’ को छलछाम राष्ट्रिय सभाको समितिले सच्यायो

निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा प्रतिनिधिसभाबाट भएको त्रुटि सच्याएका छौं, ‘कुलिङ अफ पिरियड’ दुई वर्ष राख्ने सहमति पनि भएको छ : तुलसा दाहाल, विधायन व्यवस्थापन समिति
- जयसिंह महरा

काठमाडौं– संघीय निजामती सेवा निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा प्रतिनिधिसभाबाट भएको छलछामलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सच्याएको छ । उच्चपदस्थ निजामती कर्मचारीले उमेर हदका कारण वा राजीनामा दिएर सेवाबाट अवकाश भएको दुई वर्षसम्म संवैधानिक आयोग, कूटनीतिक र सरकारी नियुक्ति लिन नपाउने स्पष्ट व्यवस्था समितिले गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेको साथ पाएका उच्चपदस्थ कर्मचारीले विधेयकबाट ‘कुलिङ अफ पिरियड’ को व्यवस्था नै हटाउन लामो समयदेखि दबाब दिँदै आएका थिए । विधायन व्यवस्थापन समितिमा दफावार छलफलका क्रममा एमालेका र मनोनीत सदस्यबाहेक कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा नेपालका सांसदले कम्तीमा दुई वर्ष ‘कुलिङ अफ पिरियड’ को प्रावधान राख्नैपर्ने अडान राखेका थिए ।

एमालेका प्रमुख सचेतकसमेत रहेका गोपाल भट्टराईले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राख्ने भए दुई वर्षभन्दा कम समयको हुनुपर्ने प्रस्ताव गरेका थिए । तर कांग्रेस, माओवादीलगायत दलका सांसदले प्रतिनिधिसभाबाट राखिएकोभन्दा कम समय व्यवस्था गर्न नसकिने भनेपछि एमालेले मौन समर्थन जनाएको थियो । छलफलपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले भनेकी थिइन्, ‘निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखेर जानुपर्छ भन्ने स्थापित भइसकेको छ । यसमा धेरै माननीयको धारणा जे छ, त्यसैमा जाऔं ।’

विधायन व्यवस्थापन समिति सभापति तुलसा दाहालले राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीलाई दुई वर्षको ‘कुलिङ अफ पिरियड’ लाग्ने प्रावधान पारित गरिएको जानकारी दिइन् । ‘निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा प्रतिनिधिसभाबाट भएको त्रुटि सच्याएका छौं, ‘कुलिङ अफ पिरियड’ दुई वर्ष राख्ने सहमति पनि भएको छ,’ उनले भनिन् । विधायन व्यवस्थापन समितिले पारित गरेको प्रावधान राष्ट्रिय सभाबाट अनुमोदन भई प्रतिनिधिसभाले पनि स्वीकार गरेर कार्यान्वयन भए निजामती सेवाका मुख्यसचिव, सचिव र सहसचिवले सेवा निवृत्तपछि दुई वर्षसम्म संवैधानिक आयोग, राजदूत, सरकारीसँगै स्वार्थ बाझिने गरी गैरसरकारी संस्थामा नियुक्त हुन पाउने छैनन् ।

समितिको बैठकमा प्रतिनिधिसभाले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मका लागि ‘कुलिङ अफ पिरियड’ को व्यवस्था गरेको तर्क सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले गरेपछि सांसदहरू सहसचिव, सचिव र मुख्यसचिव तहका अधिकारीलाई मात्रै लाग्ने व्यवस्था राख्न एकमत भएका थिए । सचिव पन्थले राजनीतिक व्यक्तिहरूका लागि संवैधानिक, कूटनीतिक र सरकारी पदमा नियुक्ति पाउने संकेत संविधानले नै गरेको दाबी गरेका थिए । निजामती कर्मचारीलाई अवकाशपछि नियुक्तिमा रोक लगाउँदा कर्मचारीको मनोबल कमजोर हुने उनको तर्क थियो ।

मुख्यसचिव र सचिवहरूको सवाल आफ्नो पार्टीले राखेको तर अन्य पार्टीले नमानेको एमालेका प्रमुख सचेतक भट्टराईले बताए । राष्ट्रपतिबाट मनोनीत सांसद अञ्जान शाक्यले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राख्न नहुने अडान अन्तिमसम्म राखेकी थिइन् ।

माओवादी सांसद झक्कुप्रसाद सुवेदीले अवकाशपछि संवैधानिक, कूटनीतिक, सरकारीलगायतका नियुक्ति खान चाहने मुख्यसचिव, सचिवहरूले ५७ वर्षको उमेरमा नै अवकाशमा गए हुने तर निजामती सेवामा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था अपरिहार्य भएको बताए । ‘संवैधानिक, सरकारी र कूटनीतिक नियुक्तिमा सहसचिव, सचिव र मुख्यसचिव नै जाने हो । त्यहाँ जान चाहने भए ५७ वर्षको उमेरमा पद छोडेर बसे हुन्छ । उमेर ५९ वर्ष पुगेपछि नियुक्ति भएर ६ वर्षमा अवकाश हुने हो,’ उनले भने ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निजामती कर्मचारीलाई कारबाही वा अयोग्य भनेर विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखिएको अर्थमा नबुझ्न आग्रह गरे । ‘अवकाशपछि केही समय बस्नुस् भनेर यो व्यवस्था गर्न लागिएको हो । अनुभवबारे पुस्तक लेख्नस्, देश सुधारको विचार दिनुस्,’ सिटौलाले भने, ‘नेपालका सन्दर्भमा भन्ने हो भने सरकारमा रहने पार्टी नेतालाई प्रभाव पारेर छिट्टै आफ्नै काम लिइहाल्ने भयो । कसैले केही पाउँदै नपाउने, कसैले पाएको पायै गर्ने । अवकाशपछि केही समय जनता, समाजमा देखा परोस् भन्ने यो व्यवस्थामा अन्तर्निहित छ ।’

विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा आएको हो । राष्ट्रिय सभाबाट १७ भदौभित्र पारित भएर विधेयक प्रतिनिधिसभामा फिर्ता भइसक्नुपर्छ । त्यसपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्नेछ । त्यसपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । विधायन व्यवस्थापन समिति सभापति दाहालले निजामती विधेयकको प्रतिवेदन राष्ट्रिय सभाको सोमबारको बैठकमा प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिइन् ।

समाचार

द्वन्द्वकालमा बेपत्ता भएकाहरुको सम्झनामा दीप प्रज्वलन

- कान्तिपुर संवाददाता

१५ औं अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा शनिबार द्वन्द्वकालमा बेपत्ता १३ सय ५० लगायतको सम्झनास्वरुप काठमाडौंको माइतीघरमा गरिएको दीप प्रज्वलन । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

Page 4
दृष्टिकोण

वाम एकता : औचित्य र आवश्यकता

दम्भ, हठ र इगो त्यागेर उदार दिल र फराकिलो छाती बनाएर गरिएको एकता साँच्चिकै दिगो हुन्छ भन्ने ज्वलन्त उदाहरण माले–मार्क्सवादीबीचको एकता हो,
भने कच्चा धरातलमा प्राविधिक रूपमा गरेको एकता चिरस्थायी हुन सक्दैन भन्ने जिउँदो उदाहरण एमाले–माओवादीबीचको एकता हो ।
- कान्तिपुर संवाददाता

यति बेला राष्ट्रिय राजनीतिमा बहसको केन्द्रमा रहेको एउटा विषय हो– वाम एकता वा ध्रुवीकरण । कम्युनिस्ट नेताहरूका दैनिक भाषणमा वाम एकता मुख्य विषय बन्ने गरेको छ, कतिपय नेताले यसैलाई आफ्नो राजनीतिक ‘पुँजी’ बनाएर खपत गर्ने प्रयास गरेका छन् तर निष्कर्ष निस्किन कठिन छ । वाम एकताको ‘डिस्कोर्स’ चल्नु स्वाभाविक पनि छ ।

छिमेकी देशका नेताहरूले नेपालका वामपन्थी नेताहरूलाई सोध्ने प्रश्न हो– एउटै सिद्धान्त, लक्ष्य र सपना बोकेका वामपन्थीहरू किन विभिन्न समूहमा विभाजित छन् ? किन एउटै छातामुनि एकताबद्ध हुन सक्दैनन् ? नेपालका कम्युनिस्ट नेताहरूले गम्भीरतापूर्वक यी यक्ष प्रश्नको जवाफ कहिल्यै पनि खोजेनन् । उनीहरू आ–आफ्ना ‘झुपडी’ बनाएर बस्नमै रमाएका छन् । आन्दोलन जहाँ पुगोस्, अलगअलग ‘भान्छा’ बनाउन बानी परिसकेका छन् । एउटै घरमा बस्नै नसक्ने, सँगै हिँड्नै नसक्ने, आपसमा हातेमालो गर्नै नसक्ने कम्युनिस्टहरूको पुरानो प्रवृत्ति हो । सकेसम्म एकताबद्ध हुन नसक्ने, भइहाले पनि टिकाउन नसक्ने ‘क्रोनिक’ रोगबाट ग्रस्त छ, वाम आन्दोलन । वाम एकता ‘भ्यागुताको धार्नी’ जस्तो भएको छ । 

नेपालको कम्युनिस्ट आन्दोलनले गर्विलो र दर्बिलो इतिहास बोकेको छ । २००६ सालमा निरंकुश राणा शासनविरुद्धको जनआन्दोलनको गर्भबाट पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको जन्म भयो । पाँच जना योद्धाले लेनिनको जन्मदिनमा नेपालको पहिलो संगठित कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । त्यस दिनदेखि नेपालमा वाम विचारको औपचारिक बीजारोपण हुनुका साथै वाम आन्दोलनको संस्थागत यात्रा अघि बढ्यो । 

स्थापनाकालदेखि देश, जनता, किसान–मजदुरको हितमा समर्पित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको सुनौलो इतिहास छ । कम्युनिस्ट पार्टीले राज्यको मूल प्रवाहबाट बहिष्करण र वञ्चितीकरणमा परेका महिला, दलित, जनजाति, अल्पसंख्यक, शोषित, उपेक्षित वर्ग, क्षेत्र, समुदायको पक्षमा सधैं सम्झौताहीन संघर्ष गर्दै आएको छ । हजारौं कम्युनिस्ट नेता र कार्यकर्ताले देश र जनताको हितका लागि जीवनमरणको संघर्ष गरे, कतिले लामो जेल जीवन बिताए, धेरैले आफ्नो अमूल्य जीवन बलिदान दिए ।

आन्दोलनले जनमतको ठूलो हिस्सा आफ्नो पक्षमा आर्जन गर्न पनि सक्यो । आज नेपाल वामपन्थीमय छ, बहुमत जनता कम्युनिस्ट पार्टीको पक्षमा छन् । तर दुर्भाग्य ! यस्तो गौरवशाली इतिहास बोकेको र जनमतको ठूलो हिस्साले विश्वास गरेको नेपालको वाम आन्दोलन विभाजन र विखण्डनको अन्तहीन शृंखलामा फसिरहेकै छ । 

इतिहासले प्रमाणित गरेको छ, जतिबेला वामपन्थीहरू एकजुट भए राष्ट्रियता र लोकतन्त्र सबल भयो, जनजीविकाको आन्दोलन सशक्त बन्यो र प्रतिगामी पुनरुत्थानवादी शक्तिहरू पराजित भए । वामपन्थीहरू टुक्रिँदा आन्दोलन कमजोर, राष्ट्रियता संकटमा, लोकतन्त्र धरापमा र जनताको विश्वासमा आघात पुगेको छ । २०१९ सालको तेस्रो महाधिवेशनपछि सुरु भएको विभाजनको रेखाले आन्दोलनलाई लगातार क्षति पुर्‍यायो । विभिन्न खाले अवसरवाद अर्थात् दक्षिणपन्थी विचलन र उग्रवामपन्थी अतिवादविरुद्ध संघर्ष भए । तर आन्तरिक एकता भने बलियो हुन सकेन । त्यसपछि आजपर्यन्त एकता र विभाजनका अनन्त शृंखला चली नै रहेका छन् । 

२०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी) बीच एकीकरण भई वाम आन्दोलनको मूल प्रवाह ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ स्थापना भयो । यो ऐतिहासिक उपलब्धि बृहत् वाम एकतातर्फको ‘कोसेढुंगा’ थियो । नेकपा नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी मात्र होइन, संसद्मा करिब दुईतिहाइ बहुमतसहित देशकै सबैभन्दा विशाल र सुदृढ राजनीतिक पार्टी बन्न पुग्यो । दक्षिण एसियामै सबैभन्दा सुसंगठित राजनीतिक दलका रूपमा चर्चा कमायो । तर नेताहरूमा रहेका दम्भ, कुण्ठा, सत्ता उन्मादका कारण एकताबाट निर्मित विशाल धरोहर पनि भूकम्पले धरहरा भत्काएजस्तै छोटो समयमै गर्ल्यामगुर्लुम ढल्यो ।

वैचारिक, सैद्धान्तिक र कार्यक्रमगत आधारभन्दा पद र स्वार्थका कारण एकता टिक्न सकेन । कच्चा जगमा बनेको घरजस्तै त्यो एकता चाँडै भत्कियो र नेकपा विघटन हुन पुग्यो । वाम आन्दोलनका साथै राष्ट्र निर्माण र लोकतन्त्रको सुदृढीकरणका लागि पनि यो एउटा ठूलो दुर्घटना थियो । 

एकतापूर्व २०७४ को संघीय र प्रदेश निर्वाचनमा एमाले–माओवादीबीचको चुनावी तालमेलले जनतामा ठूलो आशा र अपेक्षा जगाएको थियो । जनताको अपार बहुमतसहित चामत्कारिक उपलब्धि प्राप्त भयो । यसले वाम आन्दोलन र लोकतन्त्रको सुदृढीकरणमा विश्वास, अर्कोतिर वाम बहुमतको सरकारबाट विकास, समृद्धि र जनतामा खुसियालीको राजमार्ग खुल्ने अपेक्षा थियो । तर परिणाम उल्टो भयो । बहुमतको सरकार राष्ट्र निर्माण, जनतालाई ‘डेलिभरी’ दिनेतिर होइन, भ्रष्ट र दलाल पुँजीपतिहरूको सेवामा केन्द्रित भयो ।

जनतालाई सेवा सुविधा, सुशासन र रोजगारी दिएर समाजवादका आधार तयार पार्ने ऐतिहासिक अवसर र जिम्मेवारी कम्युनिस्ट पार्टीको काँधमा आइपरेको थियो, त्यो पनि गुम्यो । यहाँनिर चिनियाँ नेताहरूले सोध्ने गरेको ‘नेपालमा कम्युनिस्ट पार्टीहरू पटक–पटक सरकारमा पुगेर पनि किन समाजवादका आधार निर्माण गर्न सकेनन् ?’ भन्ने गम्भीर प्रश्नले नेपालका वाम नेतालाई गिज्याइरहेजस्तो लाग्छ । 

नेपालको कम्युनिस्ट आन्दोलनले विगतमा ठूलो बलिदान दिएको छ, आज पनि जनताले वामपन्थी शक्तिसँग ठूलो विश्वास राखेका छन् । त्यो अपेक्षा पूरा गर्न सच्चा, सिद्धान्तनिष्ठ र नीति–कार्यक्रममा आधारित एकता अपरिहार्य छ । वाम एकता गीत गाउने वा नारा लगाउने विषय होइन, आत्मसात् गरेर कार्यान्वयन गर्ने जीवन्त प्रक्रिया हो । जंगलको सबैभन्दा बलियो जनावर सिंह पनि दुई कदम अघि बढेपछि एक कदम पछाडि फर्किएर आफ्नो हिँडाइको अवलोकन गर्छ । यसैलाई ‘सिंहावलोकन’ भनिन्छ ।

हामीले पनि विगतको तीतो अनुभव, क्षति र हिँडाइको सिंहावलोकन अर्थात् समीक्षा गर्न जरुरी छ । वामहरूले आत्मालोचनासहित विचारगत स्पष्टता र संगठनात्मक एकतालाई प्राथमिकता दिए भने आन्दोलन धूलो टक्टकाउँदै पुनः उठ्नेछ, एकताबद्ध हुनेछ र फेरि समाजवादको यात्रामा अघि बढ्ने ऐतिहासिक कार्यभार पूरा गर्न सकिनेछ ।

कच्चा धरातलमा प्राविधिक रूपमा गरेको एकता चिरस्थायी हुन सक्दैन भन्ने जिउँदो उदाहरण एमाले–माओवादीबीचको एकता हो । अर्कोतर्फ माले–मार्क्सवादीबीचको एकता टिक्न सक्यो । बलियो माले र संगठनात्मक रूपमा कमजोर मार्क्सवादीबीच मदन भण्डारीको अगुवाइमा बराबरीको हैसियत र ‘विन–विन’ मा एकता भई एमाले बन्यो । मनमोहन अधिकारी एकीकृत पार्टीको अध्यक्ष बन्नुभयो । दम्भ, हठ, इगो त्यागेर उदार दिल र फराकिलो छाती बनाएर गरिएको एकता साँच्चिकै दिगो हुन्छ, जसको ज्वलन्त उदाहरण माले–मार्क्सवादीबीच एकता हो ।

व्यक्तिगत वा समूहगत स्वार्थ र संकीर्णता होइन– देश, जनता र आन्दोलनको हितका खातिर त्याग गरेर भए पनि एकता गर्नु र टिकाउनु जरुरी हुन्छ । त्यसैले कम्युनिस्ट पार्टीहरूबीच हुने एकता नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र राजनीतिक कार्यदिशामा आधारित हुनुपर्छ । 

विश्व कम्युनिस्ट आन्दोलन संकटमा हुँदा, आन्दोलन रक्षात्मक अवस्थामा पुग्दा नेपालका कम्युनिस्टहरू गौरवसाथ कम्युनिस्ट पार्टीको ‘हँसिया हथौडा’ अंकित लाल झन्डा फहराउन सफल भएका हुन् । ‘नेपालमा कार्ल मार्क्स जीवित छन्’ भनेर मदन भण्डारीले त्यतिबेला विश्व प्रसिद्ध अमेरिकी अखबार ‘टाइम्स’ मा अन्तर्वार्ता दिनुभएको थियो । जुन अन्तर्वार्ताले विश्वमा ठूलै हलचल मच्चायो, साम्राज्यवादीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्यो । 

मदन भण्डारीको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ को कार्यक्रम ल्याइयो । कम्युनिस्ट पार्टीको नाम र झन्डा बदल्नुपर्छ भन्ने प्रस्तावलाई खारेज गर्दै मदन भण्डारीले गर्वसाथ ‘कम्युनिस्ट पार्टीको नाम र झन्डा बदल्न सकिँदैन, कम्युनिस्ट पार्टी खोपीको देउता हुन सक्दैन, जनताको बीचमा प्रतिस्पर्धाका लागि मैदानमा जान तयार छ’ भन्ने उद्घोष गर्नुभयो । 

वाम एकताको मार्गमा धेरै तगारा छन् । वैचारिक मतभेद, कार्यक्रमगत असहमति, संगठनात्मक विधि–पद्धतिमा असमानता, व्यक्तिवाद, सर्वसत्तावादी प्रवृत्ति, अवसरवाद र शाब्दिक ‘जार्गन’ मा रमाउने प्रवृत्ति यसका प्रमुख बाधक हुन् । पदलोलुपता र गुटबन्दी पनि उत्तिकै गहिरो समस्या हो । अहिलेको आवश्यकता ‘नेतृत्व हस्तान्तरण, नीति कार्यक्रममा रूपान्तरण’ हो तर त्यो विषय प्राथमिकतामै पर्दैन । हामी मार्क्सवाद– लेनिनवादका ठूला भाषण गर्छौं, सिद्धान्त, आदर्श, मूल्य–मान्यताका कुरा गर्छौं, जनतालाई समाजवादको सपना देखाउँछौं, देश र जनताको पक्षमा समर्पित हुने कसम खान्छौं तर पदको अवसर आउँदा ती ‘महान् आदर्श’ ओझेलमा पर्छन् । आखिरमा पदले नै ‘हलो’ अड्काउँछ । स्वार्थका अगाडि सबै सिद्धान्त, मूल्य मान्यता ‘निहुरीमुन्टी’ परेर आत्मसमर्पण गर्न बाध्य हुन्छन् । 

वास्तवमा वाम एकता नारामा सीमित गर्ने विषय होइन, आजको ऐतिहासिक आवश्यकता हो । एकताका लागि गुटबन्दी, अवसरवाद र वैचारिक अस्पष्टता प्रमुख चुनौतीका रूपमा खडा छन् । राष्ट्रको सार्वभौमिकताको सबलीकरण, लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्यायको सपना साकार गर्न र समाजवादी यात्राको सुनिश्चितता गर्न वाम शक्तिको एकता अपरिहार्य छ । यद्यपि, त्यो बाटो कठिन र चुनौतीपूर्ण भने अवश्य छ । 

‘मिसन ०८४’ सफल बनाउन निर्वाचनअगावै वाम एकता गर्नुपर्छ । त्यो सम्भव नभएमा मोर्चा बनाएर चुनावी तालमेल गर्नुपर्छ । कुनै पनि वामपन्थी पार्टी वा नेताले घमण्ड नगरे हुन्छ, ०८४ को निर्वाचनसम्म यसरी नै एक्लाएक्लै आ–आफ्नो डम्फु बजाइरहने हो भने निकै खराब परिणामको सामना गर्न बाध्य हुनुपर्नेछ । समयमा सही निर्णय नगर्ने हो भने पश्चाताप मात्र बाँकी रहनेछ । विभाजित अवस्थामा निर्वाचन लड्दा र मिलेर 

लड्दाका परिणाम देखिएकै छन् । अबको चुनावमा धेरै चुनौती थपिनेछन् भन्ने कुरामा हेक्का राख्नु जरुरी छ । यतिबेला ‘नयाँ’ का नाममा जनमत भ्रमित बनाउने खेती भइरहेको छ भने अर्कोतिर पुराना पार्टी र नेतालाई ‘बाईबाई’ गर्ने अभियान चलाइँदै छ । समाजमा अस्थिरता, उग्रता र अराजकतामा आकर्षण बढ्दै छ । यदि समयमा बुद्धि पुर्‍याइएन र चेत खुलेन भने सबै वामका लागि ०८४ को चुनाव ‘फलामको च्युरा’ साबित हुनेछ । त्यतिबेला आजको नेतृत्वलाई भावी पुस्ताले अवश्य पनि सराप्नेछ । 

यतिबेला बहुदलीय व्यवस्थामा दुई पार्टी ‘सिस्टम’ लाई प्रोत्साहन गर्ने नाममा बुर्जुवा पुँजीपति वर्गको प्रतिनिधि नेपाली कांग्रेसलाई ‘उकेरा’ लगाउने, फल्ने र फस्टिने वातावरण बनाउने अनि कम्युनिस्टहरूलाई दुस्मनजस्तै निषेध गर्ने रणनीति अपनाइँदै छ । कम्युनिस्टहरू एकापसमा आरोप–प्रत्यारोप, लाञ्छना, दन्तबजानमा व्यस्त छन् । के यसरी कम्युनिस्ट आन्दोलन फैलिन र मजबुत बन्न सक्छ ? 

वाम एकताका उद्देश्य र आधार के हुन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ नै । त्यसैले एकताको सवाललाई वैचारिक र राजनीतिक एजेन्डामा केन्द्रित गर्नु जरुरी हुन्छ । पहिलो, मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त स्विकार्दै त्यसप्रति अडिग आस्थावान् हुनुपर्छ । दोस्रो, नेपाली समाज पुँजीवादी समाज हो तर यसको मूल चरित्र दलाल नोकरशाही छ भन्ने कुरामा साझा दृष्टिकोण बन्नुपर्छ । तेस्रो, प्रधान अन्तरविरोधको पहिचानमा एकमत हुनुपर्छ । चौथो, अबको लक्ष्य समाजवाद र समाजवादी कार्यदिशाबारे स्पष्ट प्रतिबद्धता जरुरी हुन्छ । पाँचौं, संगठनात्मक पद्धतिमा एकरूपता हुनुपर्छ । मूलतः यी पाँच आधारमा टेकेर गरिएको एकता मात्र दीर्घकालीन र विश्वासिलो हुन्छ । त्यस्तो सच्चा एकताले मात्र जनतामा अपिल गर्न सक्छ । 

कम्युनिस्टहरू भविष्यप्रति आशावादी हुन्छन् । ‘एक माघले जाडो जाँदैन’ भनेझैं हिजोका प्रयास असफल भए पनि एकताको पहलमा निरन्तर लागि नै रहनुपर्छ । ‘वादे वादे जायते तत्त्वबोध’ अर्थात् बहस र पहल गर्दै जाँदा सही नतिजा निकाल्न सकिन्छ । जग कमजोर भएको घर सानोतिनो भुइँचालोले पनि भत्किएजस्तै बलियो ‘फाउन्डेसन’ बिना गरिएको एकता जतिबेला पनि भत्किन सक्छ । यस वास्तविकतालाई आत्मसात् गरेर बलियो वैचारिक र कार्यक्रमिक जगमा एकता गर्नेमा हाम्रो ‘अर्जुनदृष्टि’ हुनुपर्छ । 

‘कुराले चिउरा भिज्दैन’ भनेजस्तै वाम एकता गफमा होइन, सबैले अहंकार त्यागेर, व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर, धरातलीय यथार्थता (ग्राउन्ड रियालिटी) मा उभिएर इमानदारीपूर्वक हातेमालो गरे मात्र सम्भव छ । हामी सबै एउटै डुंगामा छौं, त्यो डुंगा डुब्दा सँगै डुब्ने निश्चित छ । यति कुराको मात्रै पनि हेक्का राख्यौं भने भविष्यमा वाम आन्दोलनलाई एकताको उज्यालो राजमार्गतर्फ अघि बढाउन सकिनेछ । 

आजको नेतृत्वलाई भावी पुस्ताले सराप्ने अवस्था नबनाऔं । यस्तो नियति भोग्नु नपरोस् भनेर सचेत बनाउँदै विभिन्न दल, समूह, गुट, उपगुटमा विभाजित नेपालका कम्युनिस्टहरूका नाममा जर्मन पादरी मार्टिन निमोलरको प्रसिद्ध कविता यहाँ स्मरण गराउनु सान्दर्भिक ठानेको छु :

‘सुरुमा शासकहरू कम्युनिस्टहरूलाई पक्राउ गर्न आए, म चुप लागें

किनकि म कम्युनिस्ट थिइनँ !

त्यसपछि उनीहरूले समाजवादीलाई समाते, म फेरि पनि मौन बसें

किनकि म समाजवादी थिइनँ !

त्यसपछि उनीहरूले ट्रेड युनियनका सदस्यलाई समाते, म फेरि पनि चुप लागें

किनकि म त्यो समूहमा थिइनँ !

त्यसपछि यहुदीहरूलाई सताए, फेरि म बोलिनँ किनकि म यहुदी पनि थिइनँ ! 

अन्ततः ऊनीहरू मलाई नै लिन आए तर तबसम्म मेरा लागि बोलिदिने कोही बाँकी थिएनन् ।’

[email protected]

सम्पादकीय

आत्मघाती अन्धविश्वासको गोठ

छाउगोठमा बस्न बाध्य पार्नेहरू सामान्यतयाः परिवारकै सदस्य, आफन्त वा छिमेकी हुने भएकाले उजुरी पर्ने सम्भावना कमै हुन्छ । त्यसैले प्रहरीले स्वयं वा वैकल्पिक उपायबाट जानकारीमा लिएर घटनाबारे अनुसन्धान र अभियोजन गर्नुपर्छ ।
- कान्तिपुर संवाददाता

महिनावारी (छाउ) बार्नका लागि घरबाहिर बसेकी एक महिला र उनीसँगै रहेकी एक बालिकाले ज्यान गुमाउनुपरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा घरछेउमा टाँगेको त्रिपालमा माथिबाट खसेको ढुंगाले लाग्दा शुक्रबार ३९ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ज्यान गएको हो ।

मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारी घाइते भएकी छन् । छाउ बार्ने क्रममा मूल घरभन्दा अलग बस्दा फरकफरक कारणले मृत्यु हुने खनाल पहिलो त होइनन् नै, अन्तिम होलिन् भन्ने पनि आधार छैन । किनकि, छाउ बार्ने प्रचलनविरुद्ध फैलाइने जनचेतना प्रभावकारी हुन सकेको छैन । अन्धविश्वासबाट ग्रसित घरपरिवारले पनि आफ्नै वरपर घटिरहेका दुःखद् घटनाबाट पाठ सिक्न सकेका छैनन् । अन्धविश्वासले सिर्जना गरेको मृत्यु समाजको चेतनामाथिकै प्रश्न हो । यस्ता आत्मघाती अन्धविश्वासबाट सकेसम्म चाँडो बाहिर निस्किन सक्दा मात्रै महिला, घरपरिवार र समग्र समाजको हित हुन सक्छ ।

नेपालको पश्चिमी क्षेत्र, खासगरी सुदूरपश्चिम प्रदेशका केही भागमा महिनावारीका बेलामा किशोरी तथा महिलाहरू घरभन्दा टाढा/बाहिर अव्यवस्थित ढंगले बनाइएका, साँघुरो र असुरक्षित गोठमा दिनरात बिताउन बाध्य छन् । त्रास वा हिंसा खेप्न बाध्य छन् । खासगरी जंगली जनावरले आक्रमण गर्ने, सर्पले डस्ने, पहिरो खस्ने, ढुंगा खस्ने, जाडो हुने, धूवाँले निसासिने जस्ता कारणले मृत्यु हुने गरेको छ । बेलाबेला बलात्कृत भएको घटना पनि सार्वजनिक हुन्छ । निम खनाल र कविता भण्डारी पछिल्लो सन्दर्भ मात्रै हो । गत जेठ २७ गते मात्रै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी ३२ वर्षीया कमला आउजी दमाईलाई छाउगोठमै सर्पले डस्दा मृत्यु भएको थियो ।

चार वर्षअघि अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएको थियो । २ असार २०८१ मा अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक १५ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । २०८१ माघ १३ राति कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई छाउगोठमा सुतिरहेकै बेलामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । २०६३ सालयता मात्रै छाउगोठमा शुक्रबारसम्म भएका घटनामा अछाममा २० जना महिला तथा किशोरी, डोटीमा २ र बाजुरामा ३, कञ्चनपुरमा १ गरी सुदूरपश्चिममा २६ जनाको मृत्यु भएको देखिन्छ ।

निश्चित उमेर समूहका महिलामा महिनावारी नियमित प्रक्रिया हो । तर, महिनावारीको समयमा गरिने विभेद धेरैतिर विद्यमान छ । नेपालको पश्चिमी क्षेत्रका केही स्थानमा भने किशोरी तथा महिलाले महिनावारी भएका बेला ४ देखि ६ दिनसम्म अलग्गै गोठमा बस्ने चलन छ । त्यसरी नबसे देउता रिसाउँछन्, हानि पुर्‍याउँछन् भन्ने अन्धविश्वास व्याप्त छ । व्यक्ति स्वयंको अन्धविश्वास र सामाजिक मान्यताका कारण यो विभेद र घरभन्दा अलग्गै बस्नुपर्ने बाध्यता चलिआएको छ । मृत्युका घटना सार्वजनिक भएसँगै छाउगोठ भत्काउने अभियानसमेत चल्ने गरेको छ । तर त्यसले पनि दिमागमा गढेर बसेको छाउगोठ भने भत्काउन सकेको छैन ।

जस्तो कि, शुक्रबार ज्यान गुमाएकी निम र घाइते रत्नकला छाउ बार्न चार दिनसम्म बारीमा त्रिपाल हालेर बसिरहेका थिए । वर्षा नरोकिएपछि बिहीबार पाँचौं दिन उनीहरू घरछेउ सरेका थिए । तर घरभित्र बसेनन् । मनमा गढेको छाउगोठ नभत्किएकै कारण उनीहरूले त्रिपालमै भए पनि घरबाहिर बसे । परिणामतः ज्यान गुमाए, घाइते भए ।

अन्धविश्वासको कठोर जगमा खडा भएको महिनावारी विभेद र मूलतः छाउगोठमा बस्ने प्रचलनले निम्त्याएको मृत्यु तथा अन्य दुर्घटनाको अन्त्यका लागि बाध्यात्मक र चेतनामूलक कार्यक्रम गरिन आवश्यक छ । मुख्यतः छाउगोठ भत्काउने कार्यक्रमलाई नै तीव्रता दिनुपर्छ । स्थानीय तह, वडा तथा अन्य सरोकारवाला संघसंस्थाले यसका लागि अग्रसरता लिनुपर्छ । त्यस्तै, कानुनी कारबाहीलाई पनि प्राथमिकता दिनुपर्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (३) मा महिलालाई रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन भनिएको छ ।

उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । यद्यपि, छाउगोठमा बस्न बाध्य पार्नेहरू सामान्यतयाः परिवारकै सदस्य, आफन्त वा छिमेकी हुने भएकाले उजुरी पर्ने सम्भावना कमै हुन्छ । त्यसैले प्रहरीले स्वयं वा वैकल्पिक उपायबाट जानकारीमा लिएर घटनाबारे अनुसन्धान र अभियोजन गर्नुपर्छ । दोषीलाई कारबाही गर्ने कामलाई तीव्रता दिइयो भने यो प्रथा कम हुँदै जान सक्छ ।

छाउगोठ भत्काइँदा पनि महिनावारी भएका महिलालाई गाई, भैंसीको गोठ वा बाख्राको खोरदेखि ओडारमा समेत बस्न बाध्य बनाइन्छ । शुक्रबार मृत्यु भएकी निम र रत्नकला झरीबीच त्रिपालमै बसेका थिए । चौपायाको गोठ, ओडार वा त्रिपालमै बसेर भए पनि महिनावारी बार्नुपर्छ भन्ने मानसिकता जबसम्म बाँकी रहन्छ, छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुने प्रस्ट छ ।

त्यसैले बाध्यात्मक उपाय सँगसँगै चेतनामूलक कामलाई पनि अघि बढाउनुपर्छ । यसका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट अभियानकै रूपमा चेतनामूलक कार्यक्रम अगाडि बढाउन सकिन्छ । मूलतः महिनावारी नियमित प्रक्रिया हो, यो शारीरिक विषय भएकाले देउता रिसाउने वा नरिसाउने भन्ने सवाल नै नरहेकोबारे पाठ्यपुस्तकदेखि अन्य माध्यमबाट जोड दिनुपर्छ । त्यस्तै, छाउगोठमा बस्न बाध्य बनाइँदा भोग्नुपर्ने सजायबारे जानकारी फैलाउन सकिन्छ । पश्चिमी क्षेत्रका सेलिब्रिटीहरू, जो महिनावारी विभेदका विरुद्ध छन्, उनीहरूलाई प्रयोग गरेर सामाजिक सञ्जालमा भिडियोहरू प्रस्तुत गर्न लगाउन सकिन्छ ।

समाजले जसका धारणालाई बढी विश्वास गर्छ, उनैलाई प्रयोग गरेर अन्धविश्वास घटाउँदै लैजानुपर्छ । मुख्यतः कुनै पनि किसिमका अभियान ह्वात्त चल्ने र सेलाउने गर्दा प्रभावकारी हुन सक्दैनन् । नतिजा पनि निस्किँदैन । सामूहिक र निरन्तरता दिनुपर्छ । 

Page 5
अन्तर्वार्ता

नेपालबाट जब स्पष्ट अडान आउँछ, चीन र भारत सहमत हुनुको विकल्प छैन [अन्तर्वार्ता]

हामी पनि हाम्रो ऐतिहासिक स्रोतका आधारमा भन्दै छौं, यो नेपालको क्षेत्र हो । किनभने काली नदी सपना होइन, बगिरहेको नदी हो ।
- कान्तिपुर संवाददाता

विपिन अधिकारीको परिचय मूलतः संविधानविद्का रूपमा छ । उनी युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस् (यूएनओपीएस), अफिस अफ द युनाइटेड नेसन्स हाई कमिस्नर फर ह्युमन राइट्स (ओएचसीएचआर), युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) लगायत राष्ट्रसंघका विभिन्न निकायमा कानुनी सल्लाहकार रहिसकेका छन् ।

 २०७७ मा सरकारले गठन गरेको सुगौली सन्धिको सक्कल दस्ताबेजसहित महत्वपूर्ण दस्ताबेजको खोजबिन कार्यदलमा पनि उनी सदस्य थिए । समितिले चार महिना काम गरेपछि सरकारलाई लिम्पियाधुरासहित कालापानी नेपालको भएको दाबी गर्न सक्ने प्रमाण बुझाएको थियो । उक्त प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । चीन र भारतले ३ भदौमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका छन् । उक्त सहमतिलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । यही सेरोफेरोमा रहेर कान्तिपुर दैनिकका लागि दुर्गा दुलालले गरेको कुराकानीका सम्पादित अंश :

  • सुगौली सन्धिले नेपाल–भारत सिमानाको विषयमा के भनेको छ ?

यो प्राविधिक विषय हो । म सर्वेयर वा इन्जिनियर होइन । भूगोलविद् पनि होइन । त्यसैले म केवल कानुनको जानकारी मात्र राख्दै छु । मैले नेपाल सरकारका तर्फबाट ‘टास्क फोर्स’ मा रहेर काम गर्ने अवसर पाएँ । यसले केही जानकारी र तथ्यहरू पक्कै पनि सिकायो । ‘टास्क फोर्स’ ले दिएको रिपोर्ट सरकारलाई बुझाइएको छ । यो राज्यको सम्पत्ति भएको छ । राज्यको सम्पत्ति भएको कुरामा मैले भन्न उपयुक्त हुँदैन । ती विषयहरू प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीले नै भन्न उपयुक्त हुन्छ । यो गोपनीयतासँग सम्बन्धित छ । ती कुराहरूको बारेमा म टिप्पणी गर्न चाहन्नँ । 

तर एउटा नागरिक र अध्ययन गर्न रुचाउने व्यक्ति पनि हुँ । त्यस आधारमा भन्नुपर्दा नेपाल र ब्रिटिस इन्डियाबीच सन् १८१६ मार्च ४ मा हस्ताक्षर भएको सुगौली सन्धि नेपालको सिमाना सम्बन्धमा एकदमै स्पष्ट छ । यसमा नेपालको पश्चिम सिमानाबारे दुविधा नहुने गरी उल्लेख गरेको पाइन्छ । सन्धिको धारा ५ मा नेपालका राजाले आफू र आफ्ना उत्तराधिकारी र हकवालाहरूको हकमा काली नदी पश्चिमका सबै राज्यहरू उपरको दाबी छोडेको उल्लेख गरिएको छ ।

  • त्यसको अर्थ के हो ?

नेपाल एकीकरणको अभियानमा कालीभन्दा पश्चिम क्षेत्रमा पर्ने कुमाउ, गढवाललगायतका क्षेत्र गोर्खा राज्यमा एकीकरण भएका थिए, त्यसको दाबी नगर्ने भनेको हो । सन्धिको धारा ५ ले काली नदी पश्चिमको भूभाग नेपालले एकीकरण गरेको भए पनि अब आइन्दा दाबी रहने छैन भनिएको हो । अर्थात्, काली नदी पनि नेपालको हो, अनि त्यसभन्दा पश्चिममा पर्ने भूभागमा नेपाल (तत्कालीन गोर्खा) ले दाबी गर्ने छैन भनिएको हो । ती भूभागचाहिँ भारतको हुने भनिएको हो । सिमाना नदी काली नदी हो तर त्योभन्दा पश्चिमका भूभाग मात्र भारतको हो भन्ने कानुनी व्याख्या हो । सन्धिमा यही उल्लेख गरिएकाले काली नदीसहितका पूर्वका सबै भूभाग नेपालको हो ।

सुगौली सन्धिमा काली नदी पनि नेपालको हो, त्यसभन्दा पश्चिममा पर्ने भूभागमा नेपालले दाबी गर्ने छैन भनिएको छ, नदीभन्दा पश्चिमको भूभागचाहिँ भारतको हुने भनिएको हो

काली नदीको सिरान अर्थात् उद्गमस्थल लिम्पियाधुरा हो । त्यहाँबाट काली नदी उँधो लाग्छ । त्यसैले काली नदीको सिरान र उँधो लागेको ‘रिभर कोर्स’ पूर्वका सबै क्षेत्र नेपाली हो । कानुनअनुसार यही नै हो । सन्धिले यही कुरा भन्छ । यो त्यस बेला लेखिएको सन्धि हो, जुन समयमा आजको रीतिथिति र प्रविधि केही पनि थिएन । त्यसले जे लेखेको छ, आजसम्म यही हुनुपर्छ । यसअनुसार लिम्पियाधुराबाट उँधो लागेको काली नदी नै नेपालको हो । त्यसैले लिम्पियाधुरादेखि पूर्वका जति क्षेत्र छन्, नेपालको हो भन्ने सन्धिको व्याख्या हुन्छ ।

 

  • तपाईंले सन्धिको धारा ५ लाई कानुनअनुसार व्याख्या गर्दा काली नदी र त्यसपूर्वको भूभाग नेपालको हो भन्नुभयो । तर सिमानामा भारतले किन विवाद झिकिरहेको छ त ?

लिम्पियाधुरा, जहाँबाट काली नदी उत्पत्ति भएको छ । काली नदीको मूल प्रवाह क्षेत्र, लिपुलेक भन्ज्याङ, कालापानी इत्यादि सबै क्षेत्र नेपालको भनेर मान्नुपर्ने हुन्छ । अहिले भारत सरकारले आफ्नो क्षेत्र भनी जसरी प्रयोग गरेको छ, यो गलत छ । भारतले सैन्य उपस्थिति र व्यापारिक क्षेत्रका रूपमा प्रयोग गरिरहेको छ । यसलाई नेपालको भूमिको अतिक्रमणका रूपमा नेपाल सरकारले लिनु स्वाभाविक पनि हो । १८१६ मा सुगौली सन्धि भएको हो । हुन त यो १८१५ मै भएको हो, हस्ताक्षर मात्रै पछि भएको हो । आज करिब २१० वर्ष भयो ।

ब्रिटिस इन्डिया सरकारले सुरुमा सर्वे गरेको थियो । त्यो सर्वेको रिपोर्ट र नक्साहरूले लिम्पियाधुरालाई नै काली नदीको स्रोतका रूपमा लिएको पाइन्छ । ती नक्सा र सर्वेहरूमा काली नदीको उद्गमस्थलबारे विवाद नै छैन । लिम्पियाधुराको शिर नै काली नदीको उद्गमस्थल मान्दछ र देखाउँछ । बिस्तारै त्यस क्षेत्रको भूगोलका बारेमा ब्रिटिस इन्डियाको ज्ञान बढ्दै जान्छ, अनि त्यो क्षेत्रमा नपुगीकन राजनीतिक रूपमा व्याख्या हुन थाल्छ । यसले नै अस्पष्टता सिर्जना गर्न खोजेको देखिन्छ । तर जतिसुकै अस्पष्टता छ भने पनि त्यो क्षेत्र निरन्तर रूपमा नेपालको प्रशासनमा थियो, नेपालीहरूले प्रशासन गर्थे र त्यहाँका जनताको बुझाइ पनि हाम्रो देश नेपाल (गोर्खा) नै हो भन्ने थियो ।

भारत र चीनका बीचमा लडाइँ भएपछि यो क्षेत्रको रणनीतिक र सामरिक महत्त्व सुरु भयो । भारत तत्कालीन समयमा यस भूभागलाई लिएर निकै चिन्तित थियो । यही अवस्थामा नेपालमा कमजोर सरकार थियो । नेपालमा पनि महत्त्वाकांक्षी व्यक्तिहरू शासन सत्तामा थिए । भारत पनि युद्धको विषयलाई लिएर चिन्ताग्रस्त हुनुका साथै महत्त्वाकांक्षी नै थियो । कमजोर सरकार भएकै कारण भारतले यी क्षेत्रहरू नेपाललाई सहजै मनाएर लिन सफल भयो । नेपालले भारतलाई प्रयोग गर्न पनि दियो । नेपाल सरकारले तत्कालीन समयमा हुँदैन भन्न सकेन ।

भारतीयहरूको सैन्य उपस्थिति उक्त क्षेत्रमा बलियो भयो । ठीक उल्टो, नेपालीचाहिँ फर्केर गएनन् । यही कारण उक्त क्षेत्रमा भारतले आफूले चाहेको काम गर्न पायो । यसैलाई टेकेर भारतले अहिले हामीले १९५४ देखि नै व्यापारिक रूपमा यो नाका प्रयोग गरिरहेका छौं भनेर दाबी गरिरहेको छ । व्यापारिक प्रयोग भारतले गरिरहेको छ, यसमा विवाद छैन । तर यही आधारमा यो क्षेत्र उसको हो भनेर दाबी गर्न पर्याप्त छ त ? छैन । प्रयोग गरेकै भरमा, सेना राखेकै भरमा मेरो भनेर प्रयोग गर्न पाइन्छ ? देश अर्काको हो, तर मेरो सैन्य उपस्थिति छ, म बलियो छु र मैले झन्डा गाडेको छु भनेकै आधारमा भारतको हुँदैन ।

कुनै कुरामा विवाद भएपछि त्यो कुराको छिनोफानो हुनुपर्छ । छिनोफानो गर्ने भनेको हामीसँग भएको प्रक्रियाअनुसार हो । त्यो प्रक्रियामा आउन भारत किन तयार छैन ? पहिला त ऐतिहासिक तथ्यलाई स्वीकार गरेर छिनोफानो गर्ने प्रक्रियामा आउन तयार हुनुपर्ला नि ! वार्तामा बसेका बेलामा ‘अहिले थाती राखौं’ भन्ने । अनि अरूतिर मिलाऔं भनेर ‘सेलेक्टिभ’ हिसाबले जहाँजहाँ भारत सरकारको सामरिक स्वार्थ छैन, त्यहाँ मात्र समाधान गर्न खोजेर कसरी समाधान हुन्छ ? सामान्य ठाउँमा मात्र समाधान खोजेर हुँदैन । सामरिक महत्त्व भएका क्षेत्रमा पहिला समाधान खोजिनुपर्छ ।

लिम्पियाधुरा क्षेत्रको विवादका विषयमा नेपालका धेरै प्रमाण छन्, त्यसमा बसेर छलफल गर्न, त्यसलाई स्वीकार गर्न पहिला भारत तयार हुनुपर्छ । भारतसँग सीमा विवाद रहेका सबै क्षेत्रमा हामीले नोक्सान नै भोगेका छौं । हामीले भारतलाई हात काटेर नै दिएका छौं । सुगौली सन्धि गर्दा पनि हात काटेर दिएकै हो । धारा ५ मा नेपाल एकीकरण गर्दा गोर्खालीहरूको भइसकेको भए पनि काली नदी पश्चिमका क्षेत्रमा आगामी सन्ततिले दाबी नगर्ने भनेर किन लेखियो त ? यसमा पनि हामीले गुमाएको हो । यसरी हेर्दा नेपाल खिइएकै छ । देख्नेहरूले यही भनेका छन् । सीमा क्षेत्रका मानिसदेखि विज्ञहरूले यही भनिरहेका छन् । 

तत्कालीन समयमा उपलब्ध नक्साहरू ब्रिटिस इन्डियाले नै बनाएको हो, हामीले होइन । हामीसँग तत्कालीन समयमा नक्सा थिएन र बनाउने मानिस पनि थिएनन् । ब्रिटिस इन्डियाले तत्कालीन समयमा बनाएको नक्सा अहिले कसरी गलत हुन सक्छ ? हामीले त सीमामा ‘गार्ड’ गर्ने मात्र गरेका थियौं । पृथ्वीनारायण शाहले हतियार किनेर आउँदा सीमाले रोकेको कुरा उल्लेख छ । त्यसैले सिमाना कहिले पनि खुला छैन र थिएन । यदि खुला थियो भने किन रोकियो त ?

मानिसहरूको आवतजावतमा खुला थियो होला, तत्कालीन समयमा नेपाल मात्र हैन, भारत, पाकिस्तान, बंगलादेशलगायत सबै देशसँगको सीमाको अवस्था उस्तै थियो । पर्खाल त राजाहरूले आफ्नो दरबारमा लगाएका थिए । उनीहरूले आफ्नो जीउज्यानको सुरक्षाका लागि यस्तो पर्खाल लगाएका थिए होला । देशमा कसैले पनि पर्खाल लगाएको थिएन । सीमाको सुरक्षा पर्खाल लगाएर मात्र हुन्छ र ?

तपाईंहरूले तयार पारेको प्रतिवेदनले लिम्पियाधुरादेखि कालापानीसम्मको भूभाग पनि नेपालकै हो भन्ने दाबीलाई कत्तिको बलियो बनाउँछ त ? 

मैले माथि नै भनें, उक्त समितिको प्रतिवेदनबारे सरकारले मात्र टिप्पणी गर्न सक्छ । तर मैले पाएको र देखेको तथा भेटेको प्रमाणहरूका आधारमा भन्नुपर्दा सुगौली सन्धिताका ब्रिटिस इन्डियाले बनाएका नक्साहरू आधिकारिक नक्सा हुन् । त्यसपछि बनेका सबै नक्साहरू एकपक्षीय छन् । किनकि यी भारतले आफूअनुकूल बनायो । अब अहिले हामीले जुन सहमति गरौं भनिरहेका छौं, योचाहिँ दुईपक्षीय हुने हो । तपाईंहरूले के पढ्नुभयो, थाहा भएन । तर मैले विद्यालयमा पढ्दा चुच्चे नक्सा नै थियो । लिपुलेक, कालापानी र लिम्पियाधुराको चुच्चो ती नक्साहरूमा उल्लेख थिए ।

यो धेरै पुरानो कुरा पनि होइन । तर किन पाठ्यपुस्तकबाट चुच्चो हरायो त ? यसको उत्तर सिधा देखिन्छ, नक्सा नेपालमा बनेको छैन । पाठ्यपुस्तक नेपालमा बनेन । नेपालमा मानिस पनि बिकाउ भए । उनीहरू बिक्री भए अनि चुच्चे नक्सा हरायो । नत्र हामीले पढ्दा पाठ्यपुस्तकमा उल्लेख चुच्चे नक्सा कसरी तपाईंहरूको पालामा हरायो त ? मानिस खरिद–बिक्री होलान् । पाठ्यपुस्तकहरू संशोधन गरी नयाँ बनाउन सकिएला तर सन्धि त दुवै पक्षका बीचमा हस्ताक्षर भएको ‘डकुमेन्ट’ हो । यो दुवै पक्ष सहमत भएर भएको हस्ताक्षर हो ।

लिम्पियाधुरा काली नदीको उद्गमस्थल हो कि होइन भन्ने प्रश्न उठाउने गरिएको छ । भारतीयहरूले यो लिम्पियाधुरा काली नदीको उद्गमस्थल हैन भन्दै आएका छन् । यो गलत तर्क र तथ्यमा आधारित छ । साधारण रूपमा हेरौं न, नदीको मूल छाँगोलाई नमानेर सहायक छाँगोलाई काली नदीको उद्गमस्थल हो भनेर कसरी मान्न सकिन्छ ? कुलो बगाएर कहिल्यै पनि खोलो हुँदैन । खोलाको धार र मूल उद्गमस्थल अहिले पनि पत्ता लगाउन सकिन्छ ।

  • नेपालको दाबी र भारतीय भनाइ हेर्दा के फरक पाउनुहुन्छ ?

यसलाई प्राविधिक मानिस र सर्वेयरहरूले मात्र यकिन रूपमा तथ्यांकसहित भन्न सक्नुहोला । म ऐतिहासिक दस्ताबेज र कानुनी आधारमा सन्धिको व्याख्या गर्न सक्छु । यसलाई अझ प्रस्ट रूपमा हेर्न हामीले वैदिक सनातन धर्ममा उल्लेख भएको सरस्वती नदीको उदाहरण लिन सक्छौं । चार हजार वर्षअघिको कुरा हो । सरस्वती नदी तत्कालीन समयमा सुक्यो । यसको धार कहाँ र कसरी फैलिएको थियो भन्ने कुरा अहिले पत्ता लागेको छ । सरस्वती नदी बग्दा यो बाटोमा बगेको थियो र यसको धार यो स्थानमा थियो भनेर पत्ता लगाउन सकिन्छ भने काली नदीको उद्गमस्थल कुन हो भनेर पत्ता लगाउन सकिँदैन ? पक्कै सकिन्छ । त्यो कुरा भारतलाई थाहा छैन ? थाहा छ । भारतले नै सरस्वती नदीको धार ४ हजार वर्षपछि पत्ता लगाउन सक्छ भने अहिले पनि बगिरहेको काली नदीको मुहान वा शिर कुन हो भनेर पत्ता लगाउन सकिन्छ । काली नदीले आफ्नो ठाउँ छोड्यो भन्न पनि सकिएला तर सुगौली सन्धिको समयमा कुन धारमा बगेको थियो भनेर पत्ता लगाउन सकिन्छ नि । वैज्ञानिक रूपमा पत्ता लगाउन सकिन्छ भने किन अर्को नदी बनाउनुपर्‍यो त ?

भारतले नै सरस्वती नदीको धार ४ हजार वर्षपछि पत्ता लगाउन सक्छ भने अहिले पनि बगिरहेको काली नदीको मुहान वा शिर कुन हो भनेर पत्ता लगाउन सकिन्छ

मूल रूपमा नदी आफ्नो उद्गमस्थल छोडेर अर्को ठाउँमा जाँदैन । कोशी, गण्डकीले वा महाकालीले मूलधार छाडेका छैनन् नि । सुगौली सन्धिदेखि अहिलेसम्मको काली नदीको ‘रिभर कोर्स’ को वैज्ञानिक अध्ययन गर्दा यथार्थ पत्ता लागिहाल्छ । त्यस क्षेत्रमा स्वरूप नै परिवर्तन हुने कुनै प्राकृतिक विपत्ति आएको जानकारी पनि छैन । त्यहाँको ‘हाइड्रोलोजिक’ र ‘जियोफिजिकल’ सर्वे अहिले पनि गर्न सकिन्छ । ‘रिमोट सेन्सिङ’ प्रविधि प्रयोग गरेर हेर्न सकिन्छ । २१० वर्षको ‘वाटर रिभर कोर्स’ यसबाट हेर्न सकिन्छ । यसमा धेरै प्रविधि विकास भएका छन् । काली नदीको ‘प्यालियो फिचर्स’ के हो भनेर पनि अध्ययन गर्न सकिन्छ । भारत आफैंले यस्ता अध्ययनहरू गरेको छ । उसैको क्षमता छ, यसमा । यसबाट नक्साको शुद्धता परीक्षण गर्न सकिन्छ ।

सुरुका नक्साहरूले चुच्चे नक्सा नै राखेर लिम्पियाधुरासम्म देखाएकै हो । तर चुच्चे नक्सा चुच्चो पारौं भनेर नेपाललाई मन खुसी बनाउनुपर्ने केही कारण छैन । तर, भारतका लागि कारण छ । किनभने भारत र चीनका बीचमा सीमा विवाद छन् । समय समयमा द्विपक्षीय भिडन्त पनि हुने गरेको छ । भविष्यमा चीनसँग लडाइँ गर्नुपर्दा त्यहाँको ‘लोकेसन’ रणनीतिक महत्त्वको क्षेत्र हुन्छ भन्ने कुरा भारतले बुझेको छ । 

भन्ज्याङ भनेको बाटोका लागि उपभोग हुने क्षेत्र हो । भारतले पनि यसलाई यही बाटोको रूपमा प्रयोग गर्न चाहेको प्रस्टै बुझ्न सकिन्छ । लिपुलेक भन्ज्याङ पनि यस्तै महत्त्व बोकेको क्षेत्र हो । यो नेपालको हो भनेर चिनियाँसँग सीमांकन गर्दा चीनले स्वीकार गरेको कुरा हो । त्यति मात्र हैन । यो कुरालाई लिएर विवाद नै गरिएको छैन । खालि विवाद गरिएको कुरा के मात्र हो भने, चीन र नेपाल मात्र मिलेर त्रिपक्षीय बिन्दु कुन हो भनेर घोषणा गर्दा भारतलाई पनि अन्याय हुन्छ भनी त्रिपक्षीय बिन्दु कायम नभएको हो । नेपालले असल मनसाय राखेर नै यो गरेको थियो । अहिले आएर भारतले त्योचाहिँ जम्मै भारतमा पर्छ, मेरो हो भनेर हुँदैन । हामी पनि हाम्रो ऐतिहासिक स्रोतका आधारमा भन्दै छौं, यो नेपालको क्षेत्र हो । किनभने काली नदी सपना होइन, बगिरहेको नदी हो ।

आज पनि काली नदीको पानी ढलो कहाँकहाँ छ, काली नदीको मूल ‘ट्रिब्युटरी’ कुन हो भनेर नांगो आँखाले हेर्न सकिन्छ । त्यसो नगर्ने हो भने, तेस्रो पक्षको पनि उपस्थिति गराउन सकिन्छ । तर हामीले तेस्रो पक्षको कुरा अहिले नै गरिहाल्न जरुरी छैन । दुवै छिमेकी हाम्रा असल र बलिया साथी हुन् । दुवै देशसँग असल र राम्रो सम्बन्ध नै छ । बरु तीनै देशले प्राविधिक, सैद्धान्तिक र ऐतिहासिक रूपमा हेर्न हो भने मिल्न सक्छ । ऐतिहासिक प्रमाणहरू त कति छन् कति । नेपालसँग पनि छ, भारतीयहरूले पनि संकलन गरेका छन् । 

फेरि दाबी गर्ने भनेको प्रमाण सिर्जना गर्नेचाहिँ होइन । भूगोल नै प्रमाण हो । यसमा ठूलो कुरा हेर्न जरुरी नै छैन । तत्कालीन समयमा नेपालले सन्धि बेलायतको इस्ट–इन्डिया कम्पनीसँग गरेको हो । अहिलेको राजनीतिक भारतको अस्तित्व नहुँदै हामीेले सम्झौता गरेका थियौं । तत्कालीन समयमा सम्झौता गर्ने पक्ष बेलायतसँग सबै अर्काइभ छन् । उनीहरूको अर्काइभ प्रयोग गर्न सक्छौं । उनीहरूलाई नेपाल वा भारत भनेर भेदभाव गर्नु छैन । ती सामग्रीहरूको अध्ययनले वस्तुनिष्ठ र वैज्ञानिक मूल्यांकन हुन सक्छ । यसका लागि वार्ता हुनुपर्‍यो । वार्ता गर्ने परम्परा छँदै छ । भारतले पनि वार्ताबाटै सीमा समस्या समाधान गरेका उदाहरण छन् । नेपालजस्तै अन्य छिमेकीसँग भारतले सीमा विवाद समाधान गरेको छ भने हामीसँग नमिल्ने भन्ने हुन सक्दैन ।

  • तपाईंले भन्न खोज्नुभएको भारत र बंगलादेशका बीचमा वार्ताबाट समाधान भएको सीमा विवाद नेपालको हकमा पनि लागू हुन सक्छ भन्ने हो ? 

हो । भारत र बंगलादेशका बीचमा नेपालसँग भन्दा ठूलो सीमा विवाद थियो । त्यो हेर्दा त हाम्रो त जम्मा चार बित्ताको कुरा हो । उनीहरूको धेरै ठूलो थियो । यो त ऐतिहासिक घाउबाट सिर्जना भएको समस्या थियो । भारत–पाकिस्तानको विभाजन भारतका लागि दुःखदायी घटना थियो । भारत र बंगलादेशको सीमा पनि वैज्ञानिक र अव्यावहारिक थिए । सीमा भनेर कायम गरिएका क्षेत्र यस्ता अप्ठ्यारा थिए कि सहजै समाधान हुने अवस्थाका थिएनन् । त्यही कारण त लामो समय लाग्यो । भारतले यसमा सहयोग गर्‍यो, बंगलादेशले पनि आफ्ना कुरा प्रस्टसँग राख्यो । जुन जुन बंगलादेशी दाबी थियो, त्यसलाई भारतले निकास दियो । भारतीय दाबी थियो, त्यसलाई बंगलादेशले फुकायो ।

बीचबीचमा अप्ठ्यारा क्षेत्रहरू थिए । चारैतिर भारत अनि बीचमा बंगलादेशको भूभाग थियो । चारैतिर बंगलादेश अनि बीचमा भारतको जमिन थियो । यस्तो कठिन समस्या पनि उनीहरूले ‘गिभ एन्ड टेक’ समेत गरेर मिलाए । बंगलादेश र भारतले २०१५ मा भू–सिमाना सम्झौता गरेर समाधान गरेका हुन् । भारतले यसमा नेतृत्वदायी भूमिका निर्वाह गरेको हो ।

नेपालको हकमा त सानो भूभागको विवाद हो । भारत भनेको महाभारत हो । उसलाई दुई–चार बित्ताको पीर छैन । हाम्रो त फरक भूगोल हो, यो कुरा भारतले बुझ्न जरुरी छ । भारतले १११ इन्क्लेभ बंगलादेशलाई फिर्ता दिएको थियो, बंगलादेशले पनि ५१ इन्क्लेभ फिर्ता दिएको थियो । यसरी दिँदा बंगलादेशसँग भारतले क्षतिपूर्तिसमेत दाबी गरेन । यसले देखाउँछ, भारतले 

चाह्यो भने समाधान गर्न सक्छ । नेपालको हकमा पनि भारतले यही मोडलअनुसार चाहेर समाधानका लागि वार्ता गरोस् र नेपालले पनि यही चाहेको हो । यसलाई राजनीतीकरण गरिएन । बोर्डर सम्झौता भएकाले अब भावना हैन, सम्झौताले काम गरेको छ । अहिले ‘एआई’ को जमाना छ । ‘स्मार्ट बोर्डर’ कायम गर्न सकिन्छ । हिजोजस्तो थिचोमिचोको जमाना छैन । दुईपक्षीय वार्ता गरेर वैज्ञानिक आधारमा टुंगो लगाउनुपर्छ । यसमा कतिपय भारतीय पक्षजस्तो देखिएला, कतिपय नेपाल पक्षमा होलान् । तर, वार्तामा बसेपछि दीर्घकालीन समाधान खोज्नेतिर लाग्नुपर्छ । भारत र बंगलादेशले यसै गरेर समाधान गरे । हामी पनि गर्न सक्छौं । 

  • अनि विवाद समाधान गर्न को तयार भएन त ? 

विवाद समाधान गर्न नेपाल त सधैं तयार नै छ । तर भारतले चाहेको देखिएको छैन । विवादमा कायमै रहनुमा भारतले कालापानीमा काली नदीको मुख्य स्रोतलाई अन्यत्र देखाउनु पनि हो । भारतले काली नदीको स्रोत लिम्पियाधुरा नभएर निकै तल रहेको कालापानी नजिकको करिब ३६ सय मिटर उचाइको सहायक नदी डाउनस्ट्रिम छहरोलाई देखाएको छ । देखाउँदा पनि अलि लाजै लाग्ने गरी देखाउनु त भएन नि ! त्यसैलाई नै महाकाली नदीको उद्गमस्थल हो भन्दै लिम्पियाधुराको मूल भाग भारतको हो भनेर दाबी गरेको छ । यो सरासर झूटो हो । भारतले यसो गर्नुको कारण लिम्पियाधुरा आफ्नो भागमा देखाएर व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने मनसायबाट प्रेरित भएको बुझ्न सकिन्छ ।

बृहत्तर सामारिक महत्त्व राख्ने लिपुलेक भन्ज्याङ भारततर्फ परेको अवस्थामा उसले चाहेअनुसार उपभोग गर्न सक्ने मनसाय राखेको देखिन्छ । मूलधारलाई छोडेर पानी ढलोलाई बेवास्ता गर्दै सानो छहरोलाई देखाएर दाबी गर्दा पत्याउन सकिँदैन । त्यस्तो दाबी कमजोर हुन्छ । कालीको उत्पत्तिस्थल लिम्पियाधुरा नै हो । यसलाई कायम नगरी यकिन सीमांकन गर्न नै सकिँदैन । यो स्वामित्वको कुरा पनि हो । यसलाई लेनदेन गर्न हुँदैन । प्रयोगको कुरा दोस्रो हो । यसका लागि असल छिमेकी हुने कुरा पनि आउँछ ।

  • पछिल्लो पटक भारत र चीनले लिपुलेक नाकाबाट व्यापार गर्ने सहमति गरेका छन् । विगतमा पनि यस्तै प्रयास भएको थियो । यसरी पटकपटक दुई छिमेकी नेपाललाई जानकारी नै नदिई किन सहमति गर्न चाहन्छन् त ? 

भारत र चीनले यस क्षेत्रलाई व्यापारिक नाका बनाउने सहमति गर्नुको कारण छन् । तर हाम्रो कारण होइन । यो ऐतिहासिक दस्ताबेजअनुसार हाम्रो भूमि हो, यसमा हाम्रो अधिकार छ । हामीले सन्धिबाहेक अरू हेरेका छैनौं । चीन र भारतका बीचमा अहिले आएर सम्बन्ध जटिल अनि व्यापारिक पनि भएको छ । उनीहरूले लडाइँ पनि लडेका छन् भने व्यापार पनि विस्तार गरेका छन् । राजनीतिक रूपमा भारत र चीन दुवैलाई एकअर्कासँग युद्ध गरेर फाइदा छैन । उनीहरू अमेरिकाको ट्यारिफ लगायतका नीतिका कारण नजिक हुन खोजिरहेका छन् । उनीहरूले एकअर्कामा व्यापार विस्तारको हात अघि बढाएका छन् । यसले पनि यो क्षेत्रको महत्त्व बढेको छ । परका देशभन्दा नजिककै देशसँग मिल्नुपर्ने उनीहरूको बुझाइ छ । यसमा उनीहरूको सामरिक स्वार्थसँगै व्यापारिक स्वार्थ पनि जोडिएको छ ।

  • भारतले नेपाली भूमिमाथि कब्जा जमाउने र चीनले त्यसलाई साथ दिएको जस्तो देखिन्छ । दुई हाम्रा असल छिमेकी हुन् तर उनीहरूले यस्तो व्यवहार किन गरे होलान् ?

विगतमा चीनले नेपालको संवेदनशीलता बुझ्छौं भन्दै आएको थियो । तर नेपालको जमिन नेपाललाई नै थाहा नै नदिई व्यापारिक नाकाका रूपमा प्रयोग गर्न भारतसँग सुटुक्क सम्झौता गर्नु त दोहोरो मापदण्ड भयो । जहाँ नेपालको उपस्थिति अनिवार्य छ, त्यहाँ ढाँट्नु भएन । एकअर्काका लागि सुखद भविष्यका लागि विकल्प खोजेको हो भने निर्विकल्प स्वीकार गर्नुपर्छ, त्यो भनेको क्षेत्राधिकार हो । नेपालको क्षेत्राधिकारमा दुई देशले सम्झौता गर्ने अधिकार पाउँदैनन् ।

भारतले १११ इन्क्लेभ बंगलादेशलाई फिर्ता दिएको थियो, बंगलादेशले पनि ५१ इन्क्लेभ फिर्ता दिएको थियो, यसले देखाउाछ, भारतले चाह्यो भने नेपालसागको सीमा विवाद समाधान गर्न सक्छ 

हामीले लिपुलेकका बारेमा गरिरहेको दाबी काल्पनिक होइन । यो कुरा चिनियाँ पक्षलाई पनि थाहा छ । ठूला नदीको पानीको स्रोत कुन हो भन्ने चिनियाँ पक्षलाई पनि थाहा छ । नेपाल र भारतले यो विवाद टुंग्याएर फेरि व्यापारिक नाकाको सम्झौता गर्न सकिन्छ भनेर चिनियाँ पक्षले भन्ने हो भने समाधानमा थप कदम हुन सक्छ । त्यसपछि हामीले भारतको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर यो क्षेत्रलाई प्रयोगमा ल्याउन सकिन्छ । नेपालको सार्वभौमसत्ता कायम राखेर काम गर्न सकिन्छ ।

हिजो बेलायतीहरूले एउटा स्वार्थ हेरेर सम्झौता गरेका थिए होला तर आजको बेलायतलाई लिपुलेकसँग कुनै मतलब छैन । उसले तत्कालीन समयमा गरेको सम्झौतामा तटस्थ भएर नेपाल–भारत सीमा विवादमा प्रमाणहरू उपलब्ध गराउन सक्छ । त्यसैले बेलायत लाइब्रेरीमा राखिएका सबै प्रमाण ल्याऔं, अनि भारत र नेपाल बसेर समाधान गरौं । प्रमाणलाई अनदेखा गरेर वा मासेर होइन, राखेर गरौं । नेपालमा सबै आफूले गर्न पाउनुपर्ने मनसाय भारतले राख्नु हुँदैन । चिनियाँहरू हिजो नेपालसँगको सम्बन्ध र भूभागका विषयमा ‘कन्भिन्स’ थिए तर अहिले उनीहरू व्यापारिक हुन खोजिरहेका छन् । उनीहरूले ठूलो जनसंख्या भएको भारतमा व्यापारको वातावरण देखेर नेपाललाई बेवास्ता गरिरहेका छन् । उनीहरू नेपालको पक्षमा मौन बस्न पाउँदैनन् । चीनसँग पनि धेरै प्रमाण छन् । यस विषयमा धेरै साहित्यहरू पनि छन् । यसमा पनि उल्लेख भएको कुरा हेर्न सकिन्छ ।

हामीले सुन्दै आएका छौं नि, यो भूभाग पहिला नेपालमा पर्दथ्यो, तर अहिले भारतमा छ भनेको सुन्न पाइन्छ । तर कुनै पनि भूभाग भारतमा थियो अहिले नेपालको छ भनेर सुन्न पाएका त छैनौं नि । यसले नेपाल नै खिइँदै गएको देखिन्छ । चीनको सहयोगमा केरुङ काठमाडौं रेलको हामी डीपीआरको चरणमा छौं । यसबाट नै दक्षिण एसियामा व्यापारिक विस्तार गर्ने भनेका छौं । बीआरआई परियोजनामा पनि हामीले सहमति गरेका छौं । यस्तो अवस्थामा चीनले हाम्रो महत्त्व र संवेदनशीलतालाई बुझ्न जरुरी छ ।

  • अबको बाटो के हो त ?

नेपाल उत्तेजित हुने होइन, सौम्य कूटनीति अपनाउने हो । असल सम्बन्ध दुवै देशसँग भएकाले यही आधारमा दुवै देशसँग कूटनीतिक वार्ता गरिनुपर्छ । ऐतिहासिक प्रमाणका आधारमा दाबी लिने र दिने हुनुपर्छ । यसका लागि दुवै पक्ष टेबलमा बस्न तयार हुनुपर्छ । नेपालले दाबी छोड्नुपर्ने कुनै कारण नै छैन । तर त्यसो गर्नुमा भारतको हित छैन । उसका लागि नेपाल पनि आवश्यक छ । छलछामको राजनीतिबाट ऊ पनि माथि पुग्न सक्दैन । मन्दिर बनाएर वा जागिर दिएर क्षेत्र कायम हुँदैन । चार हजार वर्षअघि सुकेको सरस्वती नदीको धार पनि पत्ता लगाउन सकिन्छ भने महाकाली नदी त अहिले पनि बगेको अवस्थामा छ । उपग्रहको माध्यमबाट पनि यसलाई पत्ता लगाउन सकिन्छ । यदि सबै प्रमाणबाट नेपालको देखिँदैन भने नेपाल छोड्न तयार हुनुपर्छ । तर दुःखद् नेपालभित्र विभाजन छ ।

कतिपय बौद्धिक वर्गले नै नेपाल सानो देश भएकाले भारतसँग निहुँ खोज्नु हुँदैन भन्ने गरेका छन् । पत्रकारिता पनि यसमा विभाजित भएको देख्छु । यो राम्रो होइन । नेपालको हितमा सबैको धारणा एउटै हुनुपर्छ र एउटै नीति र बोली हुनुपर्छ । नांगो पाखोको हामीलाई के मतलब भनेर हाम्रै मान्छेले टिप्पणी गरेको पाएको छु । यसमा विवेकले बोल्नुपर्छ ।

  • प्रधानमन्त्री चीन र भारत दुवै देशको भ्रमणका क्रममा छन् । चीन भ्रमणका क्रममा चिनियाँ र भारतीय राष्ट्र प्रमुखसँग पनि त्रिपक्षीय भेट हुने सम्भावना छ । यस्तो भेटबाट अहिलेको विवादमा के लाभ लिन सकिन्छ ? 

चीन र भारतले व्यापारिक नाका बनाउने सहमति गरेलगत्तै नेपालले विरोध गर्नुपर्ने थियो । गर्‍यो पनि । नेपालले कूटनीतिक नोट पनि दुवै देशमा पठाएर आफ्नो अडान स्पष्ट रूपमा राखेको छ । यो राम्रो पक्ष हो । यो जानकारी दिएको मात्र हो । नेपाली जनतालाई पनि यो कुरामा प्रशिक्षण गर्न जरुरी छ । सरकारले आफ्नो ‘इस्यु’ मा कसैसँग ‘कम्प्रोमाइज’ गर्नु हुँदैन । जहाँजहाँ विवाद छ, त्यसलाई बिस्तारै समाधान गर्दै जाने अनि सम्बन्ध विस्तार पनि गर्दै जानुपर्छ । यो सिद्धान्त चिनियाँहरूको हो । उनीहरूसँग भएको प्रमाणकै आधारमा पनि नेपालले कुराकानी गर्न सक्छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै देशका प्रमुखलाई एकै ठाउँमा राखेर लिपुलेक नेपालको हो र नेपाललाई बाहिर राखेर यसमा सम्झौता हुन सक्दैन भन्ने मौका पनि हो । यो नेपालको संविधानमा अटाएको कुरा हो । 

हिजो राजाले उठाउन सकेनन् तर प्रजातन्त्रले आँट गर्‍यो नि । प्रधानमन्त्री देशको प्रतिनिधित्व गरेर जाने भएकाले यो हाम्रा लागि महत्त्वपूर्ण विषय हो । यसलाई टुंग्याउन चाहन्छौं भन्न सक्नुपर्छ । दुवै देशका नेता एकै ठाउँमा भेटिने दुर्लभ अवसर पनि हो । यो सहसचिवस्तरमा वा सिपाही तहमा समाधान गर्ने कुरा होइन । ‘टास्क फोर्स’ ले काम गर्ने र उच्च राजनीतिक नेतृत्वले टुंग्याउनुपर्छ । प्रधानमन्त्रीले भारत र चीनका दुवै नेता एकै ठाउँमा भेट भए सँगै, भेट नभए एक्लाएक्लै पनि उनीहरू बीचको सहमतिमा नेपाल असन्तुष्ट छ भनेर कुरा उठाउनुपर्छ ।

नेपाललाई बाहिर राखेर यस्तो सहमति गर्न पाइँदैन भनेर स्पष्ट रूपमा भन्न सक्नुपर्छ । हामी विगतमा स्पष्ट हुन नसक्दा नै दुवै देशले नेपाललाई मनाउन सकिन्छ नि अहिलेलाई गर्दैर् गरौं भनेर सहमति गरेका हुन् । जब स्पष्ट रूपमा अडान आउँछ, उनीहरू सहमत हुनुको विकल्प नै छैन । भौतिक रूपमा उपस्थित भएर कुरा गर्दा दुई देशले गरेको सहमति हाम्रा लागि मान्य छैन भनेर भन्नुपर्छ ।

Page 7
अर्थ वाणिज्य

सामाजिक उत्तरदायित्वको रकमको खर्चमा राष्ट्र बैंकको नियन्त्रण

अति/चरम गरिबी पहिचान गर्ने ठोस मापदण्डबिना नै राष्ट्र बैंकले जारी गर्‍यो सीएसआरसम्बन्धी निर्देशन
- कान्तिपुर संवाददाता

 

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण खर्च व्यहोरेर बचाएको मुनाफाबाट संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का लागि छुट्टाएको रकम कहाँ र कसरी खर्च गर्ने वा नगर्ने भन्ने विषयमा पनि राष्ट्र बैंकले नियन्त्रण गर्न थालेको छ । सीएसआरअन्तर्गतको रकम गरिब, विपन्न तथा लक्षित वर्गको हित तथा उत्थानमा खर्च गर्न भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले खुद नाफाको कम्तीमा एक प्रतिशत रकम सीएसआरमा खर्चिनुपर्छ । गत वर्षमा २० वाणिज्य बैंकले मात्र ७१ अर्ब ५१ करोड नाफा गरेका छन् । यसअनुसार यस वर्ष ती संस्थाले ७१ करोड ५१ लाख सीएसआरमा खर्चिनुपर्छ । यसबाहेक विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्थाले कमाएको नाफा पनि जोड्दा सीएसआरमा खर्चिनुपर्ने रकम झन् बढी हुन्छ । 

यो कार्यविधि बैंक तथा वित्तीय संस्थाका लागि मात्र भए पनि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीले आफ्ना नाफाको निश्चित प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ । यो सबै जोड्दा बर्सेनि अर्बौं रकम यो क्षेत्रमा खर्च हुने देखिन्छ । राष्ट्र बैंकले जारी गरेको ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०८२ (प्रथम संशोधन)’ मा बैंक तथा वित्तीय संस्थाले सीएसआरअन्तर्गत गर्ने खर्च पारदर्शी, प्रभावकारी र उद्देश्यमूलक बनाउनुपर्ने
उल्लेख छ । 

यी हुन् खर्च गर्न नपाइने क्षेत्र

–संस्थाको ब्रान्ड प्रवर्द्धन तथा बजारीकरण अभियानमा खर्च गर्न
–राजनीतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्‍याली तथा विज्ञापनमा खर्च गर्न
–आफ्नो स्वार्थ जोडिएका प्रभाव समूहका व्यक्ति वा आफूसाग सम्बद्घ व्यक्तिलाई परोपकारका नाममा खर्च गर्न
–उपहार वा चन्दा प्रदान गर्ने, फेस्ट वा कार्यक्रममा ब्रान्डिङ हुने उद्देश्यले प्रायोजन गर्ने गरी खर्च गर्न
–संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा खर्च गर्न
–व्यापार विस्तारको सर्त राखी खर्च गर्न
–ठूला विकास आयोजनामा खर्च गर्न
–बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा निजी आयोजनामा खर्च गर्न
–कुनै किसिमको नगद, दान, दातव्य, पुरस्कार आदि वितरण गर्न
–अन्य कुनै कोष वा शीर्षकमा रकमान्तर गर्न वा पुँजीकोष गणना गर्न

‘सीएसआर कोष परिचालन गर्दा गरिबीको रेखामुनी रहेकामध्ये पनि चरम गरिबीमा जीवनयापन गरिरहेका समुदायको छनोट/पहिचान गरी त्यस्ता समुदायको हित तथा उत्थानलाई प्राथमिकता दिनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘संस्थाहरूले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएकोमध्ये कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’

सर्वोच्च अदालतले गत असारमा सीएसआर कोषमा जम्मा भएको रकम ठूला विकास आयोजनामा खर्च नगर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चले गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानका लागि कोषमा छुट्याउनुपर्ने त्यस्तो रकम उनीहरूमा मात्रै खर्च गर्न आदेश दिएको हो । न्यायाधीशहरू हरि फुयाल र नृपध्वज निरौलाको इजलासले आदेशमा चरम गरिबी निवारण गर्न तथा गरिबीको रेखामुनि रहेका नेपालीको प्रत्यक्ष हित हुने गरी प्रयोग गर्न गराउन आवश्यक व्यवस्था गर्नू/गराउनू भन्ने उल्लेख छ । सोही आदेशका आधारमा राष्ट्र बैंकले सीएसआरसम्बन्धी विद्यमान कार्यविधि परिमार्जन गरेको हो ।

यद्यपि पछिल्लो नेपाल जीवनस्तर सर्वेक्षणले नेपालमा २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीमा रहेको देखाएको छ । तीमध्ये पनि चरम गरिबीमा परेका समुदाय छानेर उनीहरूलाई आवास, शिक्षा, स्वास्थ्य, बालबालिका, महिलाको उत्थानलगायत काममा त्यस्तो रकम खर्च गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले न्यूनतम मानवीय जीवनलाई आवश्यक पर्ने क्षेत्रमा रकम खर्च गर्न आदेश दिएको हो ।

नयाँ कार्यविधिमा अति/चरम गरिबी भने पनि त्यसको ठोस मापदण्ड सरकारले तोकेको छैन । यसकारण बैंक तथा वित्तीय संस्थाले रकम खर्चिंदा चरम गरिबीमा रहेका नेपाली कसरी पहिचान गर्छन् भन्ने प्रश्न जटिल छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषको रकम गरिबी निवारणको उद्देश्यबाहेकका क्षेत्रमा खर्च वा प्रयोग गर्न नहुने भन्दै सर्वोच्च अदालतले राष्ट्र बैंकको कानुनी तथा नीतिगत व्यवस्था पनि संशोधन गराउन आदेश दिएको थियो । सोहीअनुसार नयाँ कार्यविधि आएको हो ।

राष्ट्र बैंकसँगै सर्वोच्च अदालतले सामाजिक सुरक्षाका लागि उद्योगहरूबाट छुट्याइएको रकम गरिबी निवारणमा खर्च भए/नभएको अनुगमन गर्न उद्योग मन्त्रालयलाई र सीएसआरसम्बन्धी नयाँ ऐनको मस्यौदा गर्न कानुन मन्त्रालयलाई आदेश दिएको थियो । नयाँ कार्यविधिअनुसार सीएसआरको रकम संस्थाको ब्रान्ड प्रवर्द्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनीतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्‍याली तथा विज्ञापन जस्ता कार्यमा खर्च गर्न नपाइने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

‘आफ्नो स्वार्थ जोडिएका प्रभाव समूहका व्यक्ति वा आफूसँग सम्बद्घ व्यक्तिलाई परोपकारका नाममा उपहार वा चन्दा प्रदान गर्ने, फेस्ट वा कार्यक्रममा ब्रान्डिङ हुने उद्देश्यले प्रायोजन गर्ने गरी खर्च गर्न पाइनेछैन,’ कार्यविधिमा भनिएको छ । कार्यविधिमा सीएसआरअन्तर्गतको रकम खर्च गर्न शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य र अन्य गरी सात प्रकारका क्षेत्र छुट्याइएको छ । तोकिएको क्षेत्रमा प्रदेश र स्थानीय तहमा पनि उक्त रकम खर्च गर्न सकिने व्यवस्था छ ।

शिक्षा क्षेत्रअन्तर्गत भूकम्पलगायत प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त गरिब तथा विपन्न वर्गको बाहुल्य रहेका क्षेत्रका सरकारी/सामुदायिक विद्यालय भवनको पुनर्निर्माणमा पनि यस्तो रकम खर्च गर्न पाइन्छ । ‘अर्थशास्त्र, कानुन र व्यवस्थापन संकायमा अध्ययनरत गरिब तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले सिफारिस गरेका आधारमा स्नातकोत्तर, एमफिल, विद्यावारिधि अध्ययनअन्तर्गत गरिने शोध, अनुसन्धान कार्यका लागि फेलोसिप/अनुदान दिन सकिन्छ,’ कार्यविधिमा भनिएको छ, ‘सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई प्रोत्साहित गर्न प्रदान गरिने विद्यालय पोसाक, शैक्षिक सामग्रीलगायतमा खर्च गर्न पाइन्छ ।’

 

अर्थ वाणिज्य

चक्रपथ दोस्रो खण्डको अन्तिम डिजाइन चीनमा फाइनल गरिँदै

- कान्तिपुर संवाददाता

काठमाडौं– चक्रपथ दोस्रो खण्डको अन्तिम (फाइनल) डिजाइन एक महिनाभित्र आउने भएको छ । त्यसका लागि चीनमा डिजाइन फाइनल गर्ने काम भइरहेको सडक विभागले जनाएको छ । ७ वर्षभन्दा बढी समयदेखि चीन सरकारले विस्तारको काम गर्ने भनेर चर्चा पाएको चक्रपथ दोस्रो खण्डको फाइनल डिजाइन आउनसाथ ठेक्का प्रक्रिया अघि बढाइनेछ ।

एक महिनाभित्र चिनियाँ प्राविधिक टोलीले फाइनल डिजाइन पठाउने जानकारी आएको काठमाडौं चक्रपथ सडक विस्तार आयोजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले बताए । ‘गत असार दोस्रो साता चिनियाँ प्राविधिक टोली सर्भेको काम सकेर फर्कियो,’ उनले भने, ‘अब एक महिनाभित्र उताबाट फाइनल डिजाइन आउनेछ ।’ डिजाइन आएपछि सडक विभागले हेरेर पुनः उतै पठाउने उनको भनाइ छ ।

‘डिजाइन हेरेर पठाउन धेरै समय लाग्दैन, बढीमा एक सातामा पठाइसक्छौं,’ उनले भने, ‘त्यसपछि चीन सरकारले उतै ठेक्का आह्वान गर्नेछ, निर्माण कम्पनी पनि उतै छनोट गरेपछि टोलीले आएर काम थाल्नेछ ।’

बढीमा अबको साढे दुई महिनाभित्र ठेक्का भएर काम सुरु हुने उनको भनाइ छ । गत ६ वैशाखमा चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङका १८ जना प्राविधिक सर्भे गर्न नेपाल आएका थिए । प्राविधिक टोलीले साढे दुई महिना लगाएर सर्भेको काम सकेको थियो ।

चीन सरकारको अनुदानमा कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किलोमिटरमा विस्तारको काम गर्न लागिएको हो । वनस्थली नजिकको ढुंगेधारामा कल्भर्टको ठाउँमा पुल बनाउन प्रस्ताव गरिएको प्रमुख ओझाले बताए । ‘ढुंगेधारामा पुल निर्माण गर्न मौखिक रूपमा माग गरिएको छ, यसमा चीन सकारात्मक देखिएको छ,’ उनले भने, ‘जहाँ खोला करिडोर छ, त्यहाँबाट सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने गरी पुल बनाउन माग गरिएको हो ।’ पछि सडक विभागले आफ्नो हिसाबले करिडोर बनाउने उनले सुनाए ।

पुल बनाउने कुरा डिजाइन समावेश गरेर पठाउन पनि चिनियाँ प्राविधिक टोलीसँग आग्रह गरिएको ओझाको भनाइ छ । कहाँ–कहाँ बस रोक्न मिल्ने हो, त्यो ठाउँ तोकेर डिजाइनमा राखिएको छ । चक्रपथ दोस्रो खण्डको काममा अब कुनै अलमल नहुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जनाए । ‘डिजाइन फाइनल हुनासाथ चीनले ठेक्का आह्वान गर्छ,’ उनले भने, ‘सन् २०२६ जनवरीबाट ठेक्का लिने कम्पनीले फिल्डमा आएर काम नै थाल्ने तयारी भइरहेको छ ।कलंकीदेखि सीतापाइलासम्म सर्भिस लेनबाहेक अब आठ लेन सडक बन्नेछ ।

 

अर्थ वाणिज्य

सेयर कारोबारमा मुख्य १० कम्पनीको हिस्सा ३७ प्रतिशत

दुई दिन बजार घट्दा ३ दिन बढ्यो, अन्तिम दिन ३८.१० अंकले घटेपछि समग्र नेप्से २७ सय ८१ विन्दुमा ओर्लियो
- कान्तिपुर संवाददाता

काठमाडौं– कुल साप्ताहिक सेयर कारोबारमा १० कम्पनीले ३७.१६ प्रतिशत हिस्सा ओगटेका छन् । सो अवधिमा कुल २५१ कम्पनीको सेयर कारोबार भएकामा उल्लिखित १० कम्पनीले झन्डै ३८ प्रतिशत हिस्सा ओगटेको नेप्सेको तथ्यांक छ ।

साताभर ३१ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार हुँदा १० कम्पनीको मात्रै ११ अर्ब ८० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । सो अवधिमा हिमालयन डिस्टिलरीको २ अर्ब ९१ करोड ६७ लाख, नेपाल रिइन्स्योरेन्सको २ अर्ब ६६ करोड १९ लाख, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ९४ करोड ४० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

गत साता बुटवल पावरको ६८ करोड ८९ लाख, शिवम् सिमेन्टको ६५ करोड ३८ लाख, ग्रिन भेन्चर्सको ६० करोड ७९ लाख, लुम्बिनी विकास बैंकको ६० करोड २६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५९ करोड ८२ लाख, राधी विद्युत् कम्पनीको ५६ करोड ५९ लाख र नेपाल रिपब्लिक मिडियाको ५६ करोड ३६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको तथ्यांक छ ।

गत साता २३.०३ अंकले नेप्से परिसूचक घट्दा २७ सय ८१ विन्दुमा बन्द भएको छ । गत साता दुई कारोबार दिन नेप्से घट्दा ३ कारोबार दिन नेप्से बढ्यो । तर अन्तिम कारोबार दिन नेप्से वृद्धिले निरन्तरता पाएन ।

आइतबार १८.०२ अंकले घटेको नेप्से सोमबार २१.३० र मंगलबार ४.८३ अंकले बढ्यो । बुधबार ५३.०१ अंकले बढेर नेप्से २८ सय १९ दशमलव १० विन्दुमा उक्लिएको थियो । तर बिहीबार नेप्से वृद्धिले निरन्तरता नपाउँदा ३८.१० अंकले घटेर २७ सय ८१ विन्दुमा ओर्लिएको हो ।

साउन २७ यता सबैभन्दा बढी सेयर कारोबार गत बिहीबार भएको थियो । साउन २६ मा १० अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता गत बिहीबार ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको हो । आइतबार ६ अर्ब ५४ करोड, सोमबार ५ अर्ब ७५ करोड, मंगलबार ४ अर्ब १८ करोड र बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ३८ अर्ब ७४ करोड ५३ लाख रुपैयाँले बढेको छ । अघिल्लो बिहीबार ४६ अर्ब ८ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४६ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ ।

कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

गत साता सेयरमूल्य बढ्ने कम्पनी
विकास हाइड्रोपावर : ६०.९८ प्रतिशत
नेपाल रिइन्स्योरेन्स : ८.१०
समता घरेलु लघुवित्त : ६.१९
हिमालयन रिइन्स्योरेन्स : ५.९५
गार्डियन माइक्रो लाइफ : ५.३३
एनएलजी इन्स्योरेन्स : ४.८८
साना किसान विकास बैंक : ४.७३
अरुण काबेली पावर : ४.२९
शुभम् पावर : ३.९६
अप्पर स्याङ्जा हाइड्रोपावर : ३.९०
गत साता सेयरमूल्य घट्ने कम्पनी
सिक्लेस हाइड्रोपावर : –८.३९
रसुवागढी हाइड्रोपावर : –५.६४
पिपुल्स् हाइड्रोपावरको : –५.४१
सान्भी इनर्जीे : –४.६०
मातृभूमि लघुवित्त : –४.४५
धौलागिरि लघुवित्त : –४.३७
छ्याङदी हाइड्रोपावर : –३.९८
मन्दाकिनी हाइड्रोपावर : –३.८६
नेपाल फाइनान्स : –३.५४
पियोर इनर्जी : –३.५१

Page 9
खेलकुद

चेल्सीको जित, टोटनहम स्तब्ध

सनसनीपूर्ण खेलमा बर्नलीविरुद्ध पेनाल्टी गोलको मदतमा म्यानचेस्टर युनाइटेड विजयी
- कान्तिपुर संवाददाता
प्रिमियर लिगमा फुलहमविरुद्ध पहिलो गोल गरेका चेल्सीका जाओ पेड्रो (बीच) । तस्बिर: एपी

लन्डन (एएफपी)– चेल्सीले भीएआर विवादको फाइदा उठाउँदै शनिबार इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । इन्जो मारेस्काको टोली घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको लन्डन ‘डर्बी’ मा निकै भाग्यमानी रह्यो ।

फुलहमका जोश किङले गरेको सानदार गोल अमान्य गर्नुले चेल्सीको भाग्य खुलेको थियो । रोड्रिगो मुनिज संयोगले ट्रेभोह चलोबाघसँग ठोक्किन पुग्दा भीएआरले त्यसलाई फाउल दिएपछि किङले गरेको गोल उल्टाइदिएको थियो । फुलहमको निरासा यतिमै सीमित रहेन ।

पहिलो हाफमा थपिएको ८ मिनेट इन्ज्युरी टाइम खेलिसकेको एक मिनेटपछि जाओ पेड्रोले कर्नरबाट आएको बलमा हेड गोल गरेका थिए । फुलहमका व्यवस्थापक मार्को सिल्भा झmन् त्रुद्ध हुन पुगे, जब रेफ्रीले रायन सेसेगननले बल हातले रोकेको भन्दै ५६ औं मिनेटमा पेनाल्टी दिए । त्यसमा इन्जो फर्नान्डेजले गोल गरी चेल्सीलाई २–० को अग्रता दिएका थिए ।

‘अविश्वसनीय गोललाई अमान्य गरियो, रोड्रिगोले कुल्चेको विषयमा भीएआरको निर्णय विश्वास गर्न योग्य थिएन,’ सिल्भाले भने, ‘दोस्रो गोलमा पेनाल्टी दिँदा हाम्रा खेलाडी स्क्रिन हेरेर हाँसेका थिए, किनभने त्यस अगाडि एलेक्स इओबीलाई कुल्चिएको थियो, जाओ पेड्रोले बल हातले छोएका थिए र जोचिम एन्डरसनलाई धकेलिएको थियो ।’

पहिलो दुई खेलमा कुनै गोल नखाई जित पाएको टोटनहम घरेलु मैदानमा बर्नमाउथसँग १–० ले स्तब्ध भयो । इभानिल्सनले खेलको पाँचौं मिनेटमा गरेको प्रहार डिफ्लेक्टेड भएर गोल हुँदा बर्नमाउथले महत्त्वपूर्ण जित हात पारेको थियो । टोटनहमको हारमा फाइदा उठाउँदै चेल्सी तालिकाको शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको ७ अंक छ ।

ब्रुनो फर्नान्डेजले अन्तिम मिनेटमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२ ले पराजित गरेको छ । मध्यसातामा चौथो डिभिजनको टोली ग्रिम्सबीसँग पराजित भएर लिग कपबाट बाहिरिएको युनाइटेडका व्यवस्थापक रुबेन एमोरिमलाई यो जितले ठूलो राहत प्रदान गरेको छ ।

युनाइटेडले खेलमा दुई पटक अग्रता लिए पनि बर्नलीले दुवै पटक खेल बराबरीमा ल्याएको अवस्थामा फर्नान्डेजले इन्ज्युरी टाइमको सातौं मिनेटमा विवादस्पद पेनाल्टीमा निर्णायक गोल गरेका थिए । तेस्रो खेलमा आएर युनाइटेडले पहिलो जित हात पारेको हो । २६ औं मिनेटमा कासेमिरोको हेड प्रहार बर्नलीका कप्तान जोस कुलेनले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि युनाइटेडले अग्रता लिएको थियो ।

ज्योब ब्रुन लार्सनको क्रसमा लिल फोस्टरले गोल गरेर बर्नलीलाई ५५ औं मिनेटमा बराबरीमा ल्याए । त्यसको १५ सेकेन्डपछि डिएगो डालोटको कटब्याकमा ब्रायन एमबेउमोले पुनः युनाइटेडलाई अग्रता दिलाए । जाडोन एन्थोनीले ६६ औं मिनेटमा पुनः बर्नलीबाट बराबरी गोल गरे । शनिबारका अन्य खेलमा सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ ले र एभरटनले उल्भसलाई ३–२ ले पराजित गरेका थिए । बर्नमाउथसँगै सन्डरल्यान्डको ६ अंक छ ।

 

खेलकुद

जितसहित अस्ट्रेलिया भ्रमण टुंगियो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कप्तान रोहित पौडेलको अविजित शतकमा नेपालले शनिबार जितसहित अस्ट्रेलिया भ्रमण टुंग्याएको छ । नेपालले डार्बिनमा साउथ अस्ट्रेलियालाई एकदिवसीय खेलमा २ विकेटले पराजित गर्‍यो ।

रोहितले अविजित १ सय १ रन बनाएपछि नेपालले २ सय ४३ रनको लक्ष्य ४५ ओभरमा छोट्याइएको खेलमा ५ बलअघि पूरा गरेको थियो । नेपाललाई अन्तिम ओभरमा ३ रन चाहिँदा सोमपाल कामीले नोह म्याकफाडेनको बलमा छक्का प्रहार गरेका थिए । रोहित र सोमपालले नवौं विकेटका लागि ६१ बलमा अविजित ८५ रनको साझेदारी गरेर नेपाललाई जिताए ।

रोहितले १ सय १ बलमा ९ चौका प्रहार गरे । दसौं नम्बरमा ब्याटिङ गरेका सोमपालले ३० बलमा १ चौका र ३ छक्कासहित अविजित ४० रनमा रहे । दुवै टोलीले आफ्नो सम्पूर्ण खेलाडीलाई ब्याटिङ र बलिङमा ओरालेका थिए । ओपनरद्वय कुशल भुर्तेल ३७ बलमा ४ चौका र १ छक्कासहित २८ तथा आसिफ शेख १५ बलमा २ चौकासहित ११ रनमा आउट भए ।

भीम सार्की १, आरिफ शेख ३, दीपेन्द्रसिंह ऐरी ९, लोकेश बम २, रुपेश सिंह शून्यमा आउट भए । गुलशन झाले ४० बलमा १ चौका र २ छक्कासहित ३६ रन बनाए । साउथ अस्ट्रेलियाबाट टम मेन्जीले ८ ओभरमा २ मेडन राख्दै २५ र ह्यारी मानेन्टीले १० ओभरमा ४३ रन खर्चेर ४–४ विकेट लिए ।

यसअघि साउथ अस्ट्रेलिया पूरा ४५ ओभर खेल्दै २ सय ४२ रनमा अलआउट भयो । ओपनर जोडी हार्भी म्याकेन्जी र डाउटजी हुगनबोइजेमले राम्रो सुरुआत दिलाए पनि घरेलु टोलीले त्यसको फाइदा उठाउन सकेन । म्याकेन्जी २० बलमा ५ चौकासहित २४ रन बनाए । हुगनबोइजेमले ६६ बलमा ५ चौका र १ छक्कासहित ५३ रन बनाए ।

मध्यक्रममा मानेन्टी र रायन किङले पाँचौ विकेटमा ७६ रनको साझेदारी गरे । मानेन्टीले ६८ बलमा ४ चौका र २ छक्कासहित ६३ तथा किङले ४० बलमा समान २ चौका र छक्कासहित ३५ रन बनाए । नेपालका नन्दन यादव र सोमपालले ३–३ विकेट लिए । नन्दनले ५ ओभरमा १ मेडन राख्दै १५ र सोमपालले ५ ओभरमा २१ रन खर्चे । रुपेश, सन्दीप लामिछाने र शाहब आलमले १–१ विकेट लिए ।

 

खेलकुद

आसाममाथि नेपाल ‘ए’को अग्रता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल ‘ए’ ले शनिबार आसामविरुद्धको तेस्रो मैत्रीपूर्ण खेलमा जित हात पार्दै शृंखलामा अग्रता लिएको छ । सन्दीप जोराको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले एसीए रंगशालाको फ्लडलाइटमा आसामलाई ९ रनले पराजित गर्दै ५ खेलको शृंखलामा २–१ को अग्रता बनाएको हो ।

सन्दीपले ४८ बलमा ७४ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९६ रन बनायो । जबाफमा आसाम पुरा ओभर खेल्दै १ सय ८७ रनमा अलआउट भयो । वर्षाले प्रभावित पहिलो खेलमा डकवर्थ लुइस पद्धतिका आधारमा १५ रनले पराजित नेपालले दोस्रो खेल ९६ रनले जितेको थियो ।

सन्दीपले ६ चौका र ६ छक्का प्रहार गरे । ओपनर शुभ कंसाकार ८ रनमै आउट भए । उनका ओपनिङ जोडी कप्तान अनिल साहले २० बलमा ५ चौकासहित ३१ रन बनाए । तृतराज दासले ३२ बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडे । बसिर अहमद १ रनमै आउट भए पनि आदिल आलमले १ चौका र ४ छक्कासहित ३५ रन बनाए ।

आसामबाट आकाश सेन गुप्ताले ४ ओभरमा ४९ रन खर्चेर २ तथा मृनमोय दत्त, अभिनव चौधरी र शिवशंकर रोयले १–१ विकेट लिए । आसामबाट निहार डेकाले सर्वाधिक ४० रन बनाए । उनले २३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । सुमित घडिगाउनकरले १९ बलमा समान ३ चौका र छक्कासहित ३६, साहिल जैनले २१ बलमा २ चौकासहित २४ रन बनाए । अब्दुल अजिज कुराइसीले १७ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए । नेपालबाट कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले २–२ विकेट लिए । कमलले ४ ओभरमा १ मेडन राख्दै ४६, आकाशले ४ ओभरमा ५२ र विवेकले ४ ओभरमा १७ रन खर्चेका थिए । आदिलले १ विकेट लिए ।

 

खेलकुद

एसियन कप छनोट खेल्ने टोली बिदाइ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान जाने नेपाली युवा फुटबल टोलीको शनिबार बिदाइ गरिएको छ ।

आयुश घलानको कप्तानीमा रहेको टोलीले सेप्टेम्बर ३ देखि ९ सम्म ताजकिस्तानमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ । समूह ‘के’ समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ ।

आइतबार बिहान त्यसतर्फ जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार बिदाइ गरेको हो । अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायतले बिदाइ गरे ।

बिदाइमा प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा टोली रहेको छ । उनले प्रतिद्वन्द्वी टिम बलिया भए पनि आफ्नो लक्ष्य नेपाललाई एसिया कपमा छनोट गराउने रहेको बताए ।

नेपालले सेप्टेम्बर ३ मा पहिलो खेल ताजकिस्तानसँग खेल्नेछ । त्यसपछि सेप्टेम्बर ६ मा सिरिया र ९ मा फिलिपिन्सविरुद्ध खेल्नेछ ।

नेपाली टोलीका गोलकिपरमा कृशल मोक्तान, अमित टमाटा, विशाल केसी, रक्षकमा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा, मिडफिल्डरमा अभिषेक स्याङ्तान, आयुश घलान, आरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सन्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ तथा फरवार्डमा रोहन खड्गी, नीराजन धामी छन् । 

खेलकुद

तीन सदस्यलाई आरसीटीको सम्मान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्ना तीन विशिष्ट सदस्यलाई सम्मान गरेको छ । शनिबार क्लबको २० औं साधारणसभाका अवसरमा क्लबसँगै नेपाली फुटबलमा पुर्‍याएको योगदानका लागि ज्ञानेन्द्ररत्न तुलाधर, सर्वज्ञरत्न तुलाधर र पूर्व राष्ट्रिय खेलाडी नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरेको हो ।

सहिद स्मारक लिग ‘ए’ डिभिजनको ६ पटकको विजेता आरसीटीले आफ्ना वरिष्ठ सदस्यलाई बर्सेनि सम्मान गर्दै आएको छ ।

साधारणसभामा प्रगति विवरण तथा आगामी कार्यक्रम प्रस्तुत गर्दै क्लब अध्यक्ष राजेश श्रेष्ठले अबको दिनमा अन्नपूर्ण आरसीटी अझ बलियो र सशक्त भएर प्रस्तुत हुने बताए । कोषाध्यक्ष नरेश वैद्यले आर्थिक विवरण पेस गरेका थिए ।

खेलकुद

गर्ल्समा भ्याली पब्लिक विजेता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टीआईए, गोल्डेनपिक र भ्याली पब्लिकले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टीआईए सिनियर ब्वाइज, गोल्डेनपिक जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बन्यो ।

आयोजक ग्रिनल्यान्डको कोर्टमा शनिबार सिनियर ब्वाइज फाइनलमा वरदान थापाले २७ स्कोरमा टीआईएले न्युटनलाई ६७–६१ स्कोरले हरायो । गोल्डेनपिकले जेबी स्कुललाई २९–२१ ले हराएर जुनियर ब्वाइजको उपाधि जित्यो । गोल्डेनपिकका अग्रज राईले १२ स्कोर गरे ।

भ्याली पब्लिकले केभीकेएसएसलाई २९–२२ स्कोरले पराजित गर्दै गर्ल्सको उपाधि जित्दा दृश्य गुरुङले १० स्कोरको योगदान गरिन् । सिनियरमा टीआईएका रोशन नगरकोटी, जुनियरमा गोल्डेनपिकका फुर्वा शेर्पा र गर्ल्समा भ्यालीकी अनिता गुरुङ मोस्ट भ्यालुएबल प्लेयर भए ।

न्युटनका युगेन लामा, ग्रिनल्यान्डका वियोन गुरुङ र केभीकेएसएसकी खुसी मितोक आफ्नो विधामा उत्कृष्ट थ्री प्वाइन्टर चुनिए । सिनियरमा न्युटनका उज्ज्वल श्रेष्ठ, जुनियरमा जेबीका गौरव ओली र गर्ल्समा ग्रिनल्यान्डकी प्रसिद्धि भण्डारी सर्वाधिक स्कोरकर्ता भए ।

खेलकुद

तिम्बुङ पोखरी ट्रेल रन हुने

- कान्तिपुर संवाददाता

ताप्लेजुङ (कास)– दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २६ मा हुने भएको छ । सिदिङ्वा गाउँपालिकामा रहेको तिम्बुङ पोखरीको प्रचार गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।

तिम्बुङ पोखरी संरक्षण तथा सम्वर्द्धन समितिले आयोजना गर्ने प्रतियोगिता ३ हजार ८ सय मिटर उचाइको पाङदुवादेखि ४ हजार २ सय मिटरको ठूलो भन्ज्याङ हुँदै ४ हजार ३ सय ५० मिटर उचाइमा रहेको पोखरी क्षेत्रमा समापन हुने कार्यक्रम संयोजक अमिर राई बताए । यसको दूरी १५ किलोमिटर छ ।

उच्च लेकक्षेत्र भएको यो साहसिक दौड प्रतियोगिता हुनेछ । गत वर्ष भदौ २६ मै ७.८ किलोमिटर दूरीमा प्रतियोगिता भएको थियो । यस वर्ष खुलातर्फ विजेताले ५०, दोस्रोले ३५ र तेस्रोले २० हजार प्राप्त गर्नेछन् । महिला विजेताले २५ हजार प्राप्त गर्नेछन् ।

स्थानीय विजेताल १५ हजार पुरस्कार पाउनेछन् । यसमा सिदिङ्वा गाउँपालिकाका धावकले प्रतिस्पर्धा गर्न सक्नेछन् । ट्रेल रनका लागि १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

 

खेलकुद

राजपुरा सम्मानित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रयास मञ्च नेपालले धाविका राजपुरा पछाईं र विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका र उत्कृष्ट प्रदर्शन गरेका भेट्रान धावक र खेलकर्मीसहित १२ जनालाई सम्मान गरेको छ ।

उनीहरूलाई शनिबार भेट्रान धावक एवं गीतकार बुद्धवीर लामाको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित १४ औं सांगीतिक साँझका अवसरमा सम्मान गरिएको हो ।

राजपुराले दक्षिण एसियाली क्रसकन्ट्री च्याम्पियनसिपको १० किलोमिटर दूरीमा रजत पदक जितेकी थिइन् । उनले यो पदक जितेकामा सरकारबाट सम्मान नभएकोमा गुनासो पोखिन् । राजपुराले भनिन्, ‘सरकारले सम्मान नगरे पनि यो सम्मानले गर्व महसुस भएको छ, ऊर्जा थपेको छ । यस संस्थाप्रति आभारी छु ।’

सम्मानित हुनेमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहन कार्की, पुष्पलाल श्रेष्ठ, सीता रिमाल, जयराम लामा, दीपककुमार रन्जित, धर्म महर्जन, याङ्दी लामा, रोशनी शाह, लाक्पा शेर्पा लामा र त्रिरत्न मानन्धर छन् ।

पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसी, खेलकुद र शिक्षा क्षेत्रमायोगदान पुर्‍याएवापत ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, डली गुरुङ, भानु एलगायतलाई विशेष सम्मान गरियो ।

खेलकुद

इन्डोर हलको उद्घाटन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बूढानीलकण्ठ नगरपालिका वडा–८ स्थित गोल्फुटारमा गोल्फुटार सेमी इन्डोर बास्केटबल हल उद्घाटन गरिएको छ । बूढानीलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीले शनिबार हलको उद्घाटन गरे ।

करिब २ रोपनी क्षेत्रफलमा निर्मित हलका लागि २ करोड बजेट विनियोजन गरिएकामा १ करोड ४४ लाखमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

कोर्टमा सावर, बाथरुम, कमन रुम, चेन्जिङ रुम, शौचालय र करिब १ सय दर्शक क्षमताको प्यारापिट बनाइएको छ । हलसँगै रहेको खाली जमिनमा फुटसल पूर्वाधारको निर्माण गरिँदै छ ।

मेयर अधिकारीले नगर गौरवको योजनाअन्तर्गत हल निर्माण गरिएको बताए । उनले यसबाट कुनै पनि समय प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सहज हुने अपेक्षा गरे ।

उपमेयर अनिता लामाले बूढानीलकण्ठ थुप्रै राष्ट्रिय खेलाडी भएको नगरपालिका भएको स्मरण गराउँदै खेलाडीले सुविधासम्पन्न पूर्वाधारमा प्रशिक्षण गर्न सकुन् भन्ने उद्देश्यले नगरपालिकाले खेलकुद गतिविधिसँगै पूर्वाधार निर्माणमा विशेष दिएको बताइन् ।

नगरवासी राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुशा मल्लले खेल पूर्वाधारले बालबालिकालाई खेलप्रति आकर्षित गर्ने धारणा व्यक्त गर्दै आफूले सानैदेखि खेल्दै आएको आउटडोर कोर्टले हलको स्वरुप पाएकोमा खुसी व्यक्त गरिन् । बूढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले बेलुकीको समयमा प्रशिक्षण सञ्चालन गर्ने बताए ।