You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
समाचार

ओली, लेखक र खापुङलाई फौजदारीकसुरमा अनुसन्धान गर्न सिफारिस

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई समेत अनुसन्धान गर्न सिफारिस
- कान्तिपुर संवाददाता

२३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । २३ भदौको जेन–जी आन्दोलनमा भएको सरकारी दमन र २४ भदौमा भएको उत्पातको घटनामा ७६ जनाको ज्यान गएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ भदौको दमनमा तत्कालीन राजनीतिक र सुरक्षा नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने निष्कर्ष दिएको हो । त्यस्तै २४ भदौको हिंसामा संलग्नमाथि पनि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको आयोगका पदाधिकारीले जनाएका छन् ।

३ महिनाको म्यादसहित ५ असोजमा गठन भएको आयोगको म्याद ३ पटक थपिएको थियो । आइतबार आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाउन आयोग अध्यक्ष कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीको टोली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो ।

प्रतिवेदन बुझाएपछि आयोग अध्यक्ष कार्कीले आफूहरूले काम पूरा गरेको भन्दै छोटो भनाइ राखेका थिए । प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै ‘तपाईंहरूले काम पूरा गर्नुभयो, अब जे गर्नुपर्छ, गर्छौं,’ भनेकी थिइन् । आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री कार्कीले प्रतिवेदन हेरेर पूरै विवरण सार्वजनिक गर्ने कि निष्कर्ष मात्रै बाहिर ल्याउने निर्णय गर्ने बताएकी छन् । प्रतिवेदनको संक्षिप्त विवरण मात्र सार्वजनिक गर्नेबारे छलफल गर्न उनले गृहमन्त्री ओमप्रकाश अर्यालसहित केही मन्त्री र आयोग पदाधिकारीलाई साँझ बालुवाटार बोलाएकी थिइन् । जेन–जी समूहले भने पूर्ण प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिइरहेको छ ।

आयोगका प्रवक्ता शर्माले २३ र २४ भदौका घटनाका सबै जिम्मेवारलाई मुलुकी अपराध संहिताको दफा किटान गरेर अनुसन्धान र कारबाही गर्न सिफारिस गरिएको बताए । ‘भोलि हुने फौजदारी अनुसन्धानलाई एउटा आधार होस् भनेर अधिकतम तथ्य पत्ता लगाएर लेखेका छौं,’ उनले कान्तिपुरलाई भने, ‘अनुसन्धानमा सहज हुने गरी पर्याप्त विवरण प्रतिवेदनमा छ ।’

अनुसन्धानका लागि सिफारिस गरिएका व्यक्तिहरूको नाम भने शर्माले खुलाएनन् । आयोगका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, आईजीपी खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललगायतको भूमिकाबारे व्याख्या गरिएको छ ।

एमाले नेता प्रदीप ज्ञवालीले आयोगको सिफारिसमा के छ भन्नेबारे आधिकारिक रूपमा थाहा नभएको तर बाहिर सार्वजनिक भएजस्तो हो भने त्यसले गम्भीर समस्या ल्याउन सक्ने बताए ।

‘हप्ता–दस दिन अगाडि नै तयार भएको प्रतिवेदनलाई निर्वाचनको नतिजा पर्खेर एक पक्षलाई अनुकूल हुने गरी बुझाउनु जाँचबुझ आयोगको नैतिकता र जिम्मेवारीसँग मेल खाँदैन,’ उनले कान्तिपुरसँग भने, ‘त्यस्तो भएको हो भने न्यायिक छानबिनभन्दा पनि राजनीतिक पूर्वाग्रहको प्रतिवेदन हुन्छ । आयोगले समयमै प्रतिवेदन बुझाउनुपर्थ्यो र सरकारले समयमै छानबिन गर्ने वा के गर्ने निर्णय गर्नुपर्थ्यो ।’

आयोगका एक सदस्यले भने निष्पक्ष ढंगबाट अध्ययन गरेर प्रतिवेदन तयार पारिएको बताए । उनका अनुसार प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने २४ भदौमा ललितपुरस्थित नक्खु कारागारबाट बाहिर निस्किएको घटनादेखि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहसम्मको भूमिकाबारे समेत उल्लेख गरिएको छ ।

‘केही सवालमा प्रश्न उठेकाले उहाँहरूबारे पनि प्रतिवेदनमा उल्लेख गरेका हौं,’ उनले भने । पछि कारागार फर्किएका लामिछानेसँग आयोगले बयान लिएको थियो ।

नक्खु कारागारका जेलर सत्यराज जोशीसँग पनि सोधपुछ गरिएको थियो । लामिछानेले २४ भदौमा कारागारबाट निस्किँदा लगेको पत्रबारे समेत प्रतिवेदनमा विश्लेषण गरिएको आयोगले जनाएको छ । काठमाडौंका तत्कालीन मेयर शाहसँग पनि आयोगले बयान लिएको थियो ।

आयोगका प्रवक्ता शर्माका अनुसार प्रतिवेदनमा २३ र २४ भदौका घटनालाई अलग–अलग खण्डमा प्रस्तुत गरेर अनुसन्धान र कारबाही सिफारिस गरिएको छ । ‘आयोगले सुरुमा २३ भदौलाई केन्द्रित गरेर अनुसन्धान गर्‍यो तर २४ भदौको घटना झन् बृहत् भएको हामीले पायौं, यो देशभरि नै भएको छ, सानो घटना थिएन,’ उनी भन्छन् ।

शर्माका अनुसार २३ भदौको जाँच राज्य पक्षबाट भएको दमन र राज्य संयन्त्रको असफलताको विषयमा केन्द्रित छ भने २४ भदौको घटना योजनाबद्ध थियो/थिएन र यसमा भूराजनीति जोडिन्छ कि जोडिँदैन भन्ने पक्षबाट समेत अध्ययन गरिएको छ । शर्मा भन्छन्, ‘अलि–अलि भूराजनीतिक प्रभाव, अन्तर्राष्ट्रिय चलखेल छ भन्ने आरोप थियो, त्यसबारे अनुसन्धान गरेका छौं । विस्तृत विवरण भने प्रतिवेदनसँगै सार्वजनिक हुन्छ ।’

संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा २४ भदौमा भएको आगजनी संगठित हिसाबले गरिएको हो कि होइन भन्नेबारे समेत आयोगले जाँच गरेको थियो । त्यसका लागि आयोगले सरकारी संरचनाका साथै निजी क्षेत्रबाट कान्तिपुर पब्लिकेशन्स् र भाटभटेनी सुपरमार्केटबाट खरानी संकलन गरेको थियो ।

‘क्षणभरमै आगो लागेका कारण विभिन्न आशंका भयो । हामीले संकलन गरेको खरानीलगायतका नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएका थियौं,’ आयोगका अर्का सदस्य भण्डारीले भने, ‘पछि सरकारले जाँचका लागि भारतमा समेत नमुना पठाएको थियो ।’ परीक्षणको प्रतिवेदन भारतबाट आएको भने छैन ।

जेन–जी आन्दोलनका लागि युवा एकजुट भएको प्लाटफर्म ‘डिस्कर्ड’ का ‘युथ अगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक सर्भरमा सोडियमसहितका रसायन र पेट्रोल बम बनाउने विषयमा छलफल भएको थियो । ‘डिस्कर्ड’ को छलफलमा ‘मोलोटोभ ककटेल’ शब्द मात्रै ३ सय ५६ पटक प्रयोग भएको भेटिएको थियो । ती विषय जोडेर जाँच्ने प्रयास गरिएको तर तत्काल उपलब्ध प्रमाणका आधारमा आगजनी संगठित र योजनाबद्ध थियो भन्ने पुष्टि गर्न नसकिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

‘यस विषयमा अझ विस्तृत जाँच आवश्यक रहेको हामीले प्रतिवेदनमा औंल्याएका छौं,’ आयोगका सदस्य भण्डारीले भने । प्रदर्शनमा ‘टीओबी’ नामक समूहको सक्रियतासमेत देखिएको थियो । त्यसबारे प्रहरीले समेत अनुसन्धान गरिसकेको छ । सुधन गुरुङ नेतृत्वको ‘हामी नेपाली’ समूहको उपस्थितिसमेत दुवै दिनमा थियो । ‘गैरसरकारी संस्थाका गतिविधि’ लाई समेत सूक्ष्म रूपमा अध्ययन गरिएको आयोगले जनाएको छ ।

‘हाम्रो जस्तो मुलुकमा यस्तो नन–स्टेट फ्याक्टरहरूको भूमिका बढ्न थाल्यो भने राज्य कमजोर हुन्छ भन्नेबारे अध्ययनका क्रममा बुझ्यौं । यो पक्षलाई राज्यले समयमा सम्बोधन गर्नुपर्छ भनेर केही सिफारिस गरेका छौं,’ प्रवक्ता शर्मा भन्छन्, ‘त्यस्ता संस्थाको लगानीको स्रोत र खर्चबारे अलग्गै संरचनामार्फत अध्ययन र नियमन हुन जरुरी रहेको औंल्याएका छौं ।’

नेपालमा कति गैरसरकारी संस्था (एनजीओ) सक्रिय छन् भन्ने यकिन विवरण राज्यसँग नभएको पाइएको उल्लेख गर्दै त्यो कमजोरी सुधार गर्न प्रतिवेदनमा सुझाव दिइएको समेत उनले जानकारी दिए ।

आयोगका सदस्य भण्डारीका अनुसार जाँचबुझ आयोगको मूल प्रतिवेदन करिब ९ सय पृष्ठको छ, अनुसूचीसहितको सबै विवरण गर्दा झन्डै ९ हजार पाना पुगेको छ । ‘त्यसमा २ सयभन्दा बढीसँग गरिएको सोधपुछ, बयान कागज, पीडितसँग गरिएका कुराकानी र विभिन्न निकायबाट माग गरिएका विवरणहरू छन्,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो काम पूरा गरेका छौं, अब सार्वजनिक गर्ने, कार्यान्वयन गर्नेजस्ता जिम्मेवारी सरकारको हो ।’

प्रवक्ता शर्माका अनुसार २३ भदौमा प्रहरीबाट केही चुक भएको भनी प्रतिवेदनमा उल्लेख गरिएको छ । उनका अनुसार सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध फुकुवाको माग र भ्रष्टाचारको विरोध गर्दै २३ भदौमा सडकमा आन्दोलन भएका बेला सुरक्षा व्यवस्थापनमा प्रहरीबाट गम्भीर चुक भएको पाइएको हो ।

‘यस विषयमा पनि थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएको छ,’ उनले भने । २३ भदौमा दिउँसो १२ः३० बजे नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लागेको थियो । प्रहरीको ‘सञ्चार सेट’ मा त्यो दिन भएको कुराकानीको पूर्ण विवरण प्रतिवेदनको अनुसूचीमा समावेश गरिएको छ ।

उक्त दिन संसद् भवन परिसरमा सुरुदेखि नै कमजोर देखिएको आयोगका सदस्य शर्मा बताउँछन् । ‘संसद् भवन परिसरमा ब्यारिकेड राख्नेदेखि लिएर सबै विषयमा कमजोरी भएको छ,’ उनी भन्छन्, ‘प्रहरीले निषेधित क्षेत्र सुरु हुने एभरेस्ट होटल अगाडि नै आन्दोलनकारीलाई रोक्नुपर्थ्यो ।’ कमजोर सुरक्षा तयारीका कारण आन्दोलनकारी ब्यारिकेड तोडेर संसद् भवनतर्फ बढेका थिए ।

सूचना संकलनमा भएको चुकप्रति राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई जिम्मेवार बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । आयोगले राअविका तत्कालीन प्रमुख हुतराज थापासँग समेत बयान लिएको थियो ।

जेन–जी आन्दोलनकारी बानेश्वरस्थित संसद् भवन पुग्नुअघि दिउँसो ११ः४५ बजे एउटा वाटर क्याननबाट केहीबेर पानी हान्नुबाहेक प्रहरीले केही गर्न नसकेको विवरण पनि जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘प्रहरी र सेनाबाट भएका कामकारबाहीको सूक्ष्म विवरण समेटेका छौं,’ आयोगका एक सदस्यले भने, ‘प्रहरीको कमजोरीका कारण जेन–जी युवा संसद् भवनतिर प्रवेश गर्न थालेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास हानेको पाइएको छ । लगत्तै प्रहरीले घातक हतियारबाट गोली चलाएको पनि पाइयो ।’

२३ भदौमा काठमाडौं प्रहरी प्रमुखमा एसएसपी विश्व अधिकारी थिए भने उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुखमा डीआईजी ओम राना थिए । २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीले सम्हालेका थिए । कार्की हाल प्रहरी महानिरीक्षक छन् । ‘आन्दोलनका दिन खटिएका सबै अधिकारीको भूमिका विश्लेषण गरेर प्रतिवेदन तयार गरिएको छ,’ प्रवक्ता शर्माले भने ।

जेन–जी विद्रोहको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले गत ५ असोजमा विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा पाएको तीन महिनाको म्यादभित्र काम नसकिएपछि ३ पुसमा एक महिना म्याद थपिएको थियो । त्यसपछि पनि २ पटक थप गरिएको म्याद आइतबार सकिएको छ ।

 

‘२३ र २४ भदौका घटनालाई अलग–अलग रूपमा अध्ययन गरेका छौं’ : विज्ञानराज शर्मा, प्रवक्ता, जाँचबुझ आयोग

२३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले करिब १६५ दिन लगाएर तयार पारेको प्रतिवेदनमा के छ ?
हामीले हजार पृष्ठको प्रतिवेदन तयार पारेका छौं । धेरै घटनालाई अध्ययन गर्ने प्रयास गरेका छौं । २३ भदौको आन्दोलनमा अलि–अलि भूराजनीतिक प्रभाव र अन्तर्राष्ट्रिय चलखेल पनि देखिन्छ भन्ने आरोपबारे अनुसन्धान गरेका छौं । यो छानबिन भोलि हुने अनुसन्धानलाई एउटा आधार बनोस् भनेर हामी सुरुदेखि नै तथ्य पत्ता लगाउनतिर गयौं ।
आयोगले २३ र २४ भदौका घटनालाई अलग–अलग रूपमा अध्ययन गर्‍यो कि समग्र रूपमा ?
२३ र २४ भदौका घटनालाई अलग–अलग रूपमा अध्ययन गरेर अलग–अलग रूपमै सिफारिस गरेका छौं । २३ भदौको र राज्यको जिम्मेवारीबारे अध्ययन गरेका छौं । २४ भदौको विध्वंसात्मक घटना थियो भने कसरी भयो, योजनाबद्ध थियो कि थिएन लगायत विषयमा अध्ययन गर्‍यौं ।

२३ भदौमा युवाले माइतीघरदेखि र्‍याली निकाले । त्यो बानेश्वर पुग्यो । सुरुमा ढुंगामुढा भयो, पानीको फोहोरा हानियो अनि गोली चल्यो । घाइते र मृत्यु भयो । त्यसपछि भोलिपल्ट पनि घटना भयो । सार त यही हो तर आयोगले यी सबै विषयभित्र छिरेर मिहिन रूपमा अनुसन्धान गरेको छ ।
२३ भदौको घटनाका मुख्य दोषीका रूपमा फौजदारी अभियोग नै चलाउनुपर्ने भनेर क–कसलाई सिफारिस गर्नुभएको छ ?

२३ भदौका घटनामा जसले जे कसुर गरेको छ, त्यहीअनुसार सिफारिस भएको छ । त्यही कानुन आकर्षित हुने भनेर हामीले प्रतिवेदनमा लेखेका छौं । कसलाई के भयो भन्ने विस्तृत जानकारी प्रतिवेदन सार्वजनिक भएपछि आइहाल्छ ।

कसुरअनुसारको मागदाबी हामीले गरेका छौं ।
२४ भदौको घटनामा संलग्न कतिपय प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भए होलान्, जिते पनि होलान् वा कति बाहिरै होलान्, कति दलगत होलान्, कति स्वतन्त्र नागरिक होलान्, कोही पार्टीका कार्यकर्ता होलान् । यसमा आयोगले कसरी अनुसन्धान गरेको छ र सिफारिस के छ ?
आयोगले सुरुमा २३ भदौमा केन्द्रित भएर अनुसन्धान गर्‍यो । २४ भदौमा झन् बृहत् हामीले पायौं । त्यो दिन देशभरि नै घटना भयो ।
२३ भदौमा पनि ठूलो दमन र अपराध भएकै हो ?

हो । २३ भदौमा ठूलो दमन भएको देखिन्छ । राज्यले जसरी तयारी र संयम अपनाउनुपर्ने थियो, त्यो नगरेकै देखिन्छ । त्यसमा संलग्न कुनै व्यक्तिमात्र होइन, अधिकांश अपराधी नै हुन् । त्यसमा कुरै छैन । अनुसन्धानको चरणमा उपत्यकाबाहिर पनि गयौं, घाइतेका परिवार र ज्यान गुमाएका परिवार तथा घाइतेसँग कुरा गर्‍यौं । २३ भदौमा सुरक्षाका लागि खटिएका जवानदेखि सीडीओसँग पनि कुराकानी गर्‍यौं । सरकार तथा सुरक्षाकर्मीका जिम्मेवारीमा रहेका सबैसँग कुरा भयो ।

हामीले केही प्राविधिक तथ्य पनि संकलन गरेर अनुसन्धान र विश्लेषण गर्‍यौं । समय अभावका कारण ती सबैलाई हामीले केलाउन सक्ने अवस्था भएन । अहिलेका लागि भनेर हामीले एउटा बेस बनाएर अध्ययन गर्‍यौं । बाँकीलाई भविष्यमा थप अनुसन्धान गर्न सकिने भनेर खुल्ला छाडेका छौं । त्यससम्बन्धमा राज्यले अनुसन्धान गरेर संलग्नलाई यथाशीघ्र कारबाही गर्नुपर्छ भनेका छौं ।

घटनाको अध्ययन गरिरहँदा राज्य यो हदसम्मको स्थितिमा पुग्न सक्दो रहेछ भनेर तपाईंहरूलाई लाग्यो कि लागेन ?

हो । अध्ययन गर्दा नजिकबाट देखियो, बुझियो । राज्यका संयन्त्रको औकात देखियो, हैसियत पनि देखियो । यहाँ ‘कोर’ काम, ‘सर्भिस डेलिभरी’ (सेवा प्रवाह) तिरभन्दा पनि कहाँ आफूलाई फाइदा छ, त्यतातिर लाग्ने गरेको देखियो । त्यो मनस्थितिका कर्मचारी, प्रहरी भइसकेपछि व्यावसायिकता बिस्तारै हराउँदै गएको अवस्था महसुस भयो । यसलाई समयमा सच्याउनुपर्छ । त्यसकारण हामीले प्रहरी मात्र होइन, न्यायालयका कुरा पनि गरेका छौं, निर्वाचनका कुरा गरेका छौं । सामाजिक सञ्जालका कुरा गरेका छौं । सुरक्षा निकायहरूलाई बलियो किन बनाउने भन्ने पनि सिफारिसमा लेखेका छौं । गुप्तचर संस्थालाई बलियो बनाउन के गर्नुपर्छ पनि भनेका छौं ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा निकाय र अनुसन्धान निकायबाट सूचना नै आएन भन्नुभएको थियो । अध्ययनका क्रममा यस्तै पाइयो कि के देखियो ?

राष्ट्रिय अनुसन्धान विभाग यति निष्क्रिय रहेछ कि त्यसको कुनै अनुमान हुँदैन । अनुसन्धान गर्ने निकायको सूचनाका आधारमा सुरक्षा नीति बनाइन्छ, यो नै कमजोर रहेछ । सामान्य ‘ओपन इन्फर्मेसन’ स्रोतका कुरा पनि गुप्तचर निकायलाई धेरै कम जानकारी हुने गरेको रहेछ । केही व्यक्तिविशेषले पहल लिएर खोज्ने अर्कै कुरा भयो, संस्थागत हिसाबले खोजेको भेटिएन । जवाफमा स्रोत छैन भन्दिएपछि सकिने अवस्था रहेछ । तर पहल लिएर ‘प्रोएक्टिभ’ हिसाबले काम गरेको पटक्कै देखिएन ।

सुरक्षा निकायबाट सहयोग नपाएको पनि प्रतिवेदनमा छ ?

छानबिनका क्रममा प्रहरीले सहयोग नगरेको त तथ्य नै छ । नेपाली सेनाले त पछिसम्म पनि सहयोग गरेन । पछि मात्रै हामीलाई सहयोग गरेर केही प्रमाण जुटाउन सक्यौं । प्रहरीले जलेर नष्ट भयो, रेकर्ड छैन भन्यो ।

प्रहरीले धेरै जानकारी पठाउन नसक्दा गोली कसको हतियारबाट चल्यो भन्ने पत्ता लाग्न सकेन । यही कारण नयाँ संरचना बनाएर अध्ययन गर्न सिफारिस गरेका छौं । सशस्त्र प्रहरीले जानकारी दिन्छौं भन्यो, दिएन ।

आफैंविरुद्ध प्रमाण लाग्छ भनेर पनि होला । जस्तो २३ भदौका घटनापछि हतियार सिल गर्नुपर्थ्यो, खोका खोज्नुपर्थ्यो भनेर प्रतिवेदनमा लेखेका छौं । सुरक्षा निकायबाट पूरा असहयोग भएको भने होइन, सहयोग गरेरै हामीले यो अवस्थामा प्रतिवेदन तयार पार्‍यौं ।
प्रतिवेदनमा पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीबारे के लेखिएको छ ?

हामीले अध्ययनपछि सबै तहका मानिसको संलग्नताबारे लेखेका छौं । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीबारे पनि कसुरअनुसारको दण्ड हुनुपर्छ भनेर सिफारिस गरेका छौं । यो कसुर लाग्छ, यो दफा आकर्षित हुन्छ भनेर प्रतिवेदनमा भनेका छौं ।

‘प्रतिवेदन अध्ययन नगरी बोल्नु हतार हुन्छ’ : ओम प्रकाश अर्याल, गृहमन्त्री

२३ र २४ भदौको घटना जाँचबुझका लागि गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएको छ । यो प्रतिवेदन कार्यान्वयन कहिले सुरु हुन्छ ?

२३ र २४ भदौका घटना जाँचबुझ आयोग मन्त्रिपरिषद्को निर्णयबाट गठन गरिएको थियो, आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी पनि मन्त्रिपरिषद्को हो । त्यसैले सुरुमा मन्त्रिपरिषद्ले प्रतिवेदन स्वीकार गर्छ अनि कार्यान्वयन सुरु हुन्छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् पुगेपछि यसमा निर्णय होला ।

आयोगको प्रतिवेदन सार्वजनिक हुनका लागि पनि मन्त्रिपरिषद्मै पुग्नुपर्ने हो ?

हो । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तहमा प्रतिवेदन बुझाउनुभएको छ । अब मन्त्रिपरिषद्मा पुगेर अध्ययनपछि अनुमोदन गरेर सरकारले स्वीकार गर्छ अनि त्यसलाई सार्वजनिक गर्ने प्रक्रिया सुरु हुन्छ ।

सरकारले प्रतिवेदन सार्वजनिक गर्नुअघि अध्ययन र त्यसलाई कार्यान्वयनमा लैजान्छ कि गर्दैन ?

अहिले नै प्रतिवेदनमाथि कुनै कारबाही गर्नु उचित हुँदैन । यसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सरकारले स्वीकार गरेको हुन्छ । त्यसपछि अरू प्रक्रिया गर्न सहज हुन्छ । २१ फागुनको निर्वाचनपछि देशमा नयाँ जनादेश आएको छ । त्यसलाई पनि सरकारले बेवास्ता गर्न मिल्दैन । त्यस्तै, यो आयोगको प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषयमा नीतिगत निर्णय पनि लिनुपर्ने हुन सक्ला । अहिले अध्ययन नगरेका कारण के छ भन्न सकिँदैन । तर नीतिगत निर्णय लिनुपर्ने अवस्था रहेछ भने त नयाँ जनादेश आएको अवस्थामा निर्वाचनको जिम्मेवारी पूरा गरेको सरकारले गर्दा विवाद हुन सक्छ । त्यसैले यस विषयमा अहिले नै टिप्पणी गर्नु हतारो हुन्छ ।

विगतमा पनि यस्ता आयोग निर्माण हुन्थे तर सरकारले प्रतिवेदन लुकाउने गर्थ्यो । अहिले पनि त्यस्तै हुन्छ कि भनेर आम नागरिकले आशंका गरेका छन् नि ?

प्रतिवेदन बनाउने त कार्यान्वयनकै लागि हो । प्रतिवेदन बनाएपछि सार्वजनिक पनि गर्नुपर्छ । यसलाई पनि मन्त्रिपरिषद्मा लगेर पारित गरिन्छ अनि के के कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे सरकारले आफ्नो अवस्था हेरेर गर्न सक्छ ।

विगतमा तपाईं दण्डहीनता र मानवअधिकारको कुरा उठाउनुहुन्थ्यो । यो प्रतिवेदन पनि कार्यान्वयन नहुँदा दण्डहीनताको निरन्तरता हुँदैन ?
छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन हुनेमा कुनै प्रश्न हुन सक्दैन । यो प्रतिवेदन कार्यान्वयन हुन्छ । सरकार दण्डहीनताको पक्षमा छैन भनेर मैले विगतदेखि नै भन्दै आएको छु । यसमा पनि मेरो धारण त्यही नै हो ।

समाचार

प्रत्यक्षतर्फ हरेक ४ मध्ये ३ सांसद रास्वपाका

रास्वपाले १२४, कांग्रेसले १७, एमालेले ८, नेकपाले ७, श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका छन् भने कांग्रेसको २ तथा रास्वपा र एमालेको १–१ स्थानमा अग्रता छ ।
- कान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ सिटमध्ये आइतबार मध्यरातिसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा आएको छ भने चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

जसमा रास्वपाले १२४ सिट जितेको छ, गोरखा–१ मा उक्त दलकै सुधन गुरुङले अग्रता लिइरहेका छन् ।

रास्वपाले प्राप्त गरेको जित तीन चौथाइ हो, अर्थात् प्रत्यक्षतर्फका हरेक चारमध्ये तीन सांसद रास्वपाका रहेका छन् ।

यस्तै कांग्रेसले १७, एमालेले ८, नेकपाले ७, श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन् । नतिजा आउन बाँकी ४ निर्वाचन क्षेत्रमध्ये इलाम–१ र धनुषा–१ मा कांग्रेसको अग्रता छ भने गोरखा–१ मा रास्वपा र संखुवासभा–१ मा एमालेले अग्रता लिइरहेको छ ।

आइतबार घोषित नतिजामा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहले कांग्रेस सभापति गगनकुमार थापालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन् । त्यस्तै कांग्रेसका पूर्वप्रवक्ता प्रकाशशरण महत पनि रास्वपाकै विक्रम तिमिल्सिनासँग करिब चार हजार मतले पराजित भएका छन् । अछाम–२ मा भने रास्वपाका भूपदेव शाह एमालेका यज्ञबहादुर बोगटीसँग करिब ५ हजार मतले पराजित भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कांग्रेस, एमाले, नेकपा जस्ता पुराना दलका लगभग सबै वरिष्ठ नेतालाई पराजित गरेको छ । सर्लाही–४ मा कांग्रेस सभापति थापासहित मोरङ–४ र काठमाडौं–५ मा कांग्रेस महामन्त्रीद्वय क्रमशः गुरुराज घिमिरे र प्रदीप पौडेल, मोरङ–६ मा कांग्रेस नेता शेखर कोइराला रास्वपाका उम्मेदवारसँग पराजित भएका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपाले प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बालेन्द्र शाहसँग झापा–५ मा पराजित भएका छन् भने उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण बिष्ट तथा महासचिव शंकर पोखरेल, वरिष्ठ नेता ईश्वर पोखरेल लगायत पनि पराजित भएका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट विजयी बने पनि सहसंयोजक माधवकुमार नेपाल लगायत अन्य अधिकांश वरिष्ठ नेता पराजित भएका छन् ।रास्वपा सभापति र

वि लामिछाने, वरिष्ठ उपसभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झा, पूर्वउपसभामुख इन्दिरा राना मगरलगायत नेताहरू विजयी भएका छन् । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, जनमत अध्यक्ष सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि रास्वपाकै उम्मेदवारसँग भारी मतले पराजित भएका छन्।

Page 2
समाचार

संसद्मा युवा वर्चस्व आस कि संशय

- कान्तिपुर संवाददाता,दया दुदराज (काठमाडौं)

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आइतबार साँझसम्म सार्वजनिक १ सय ५९ निर्वाचन क्षेत्रको मतपरिणामले संघीय संसद्को उमेर संरचनामा उल्लेखनीय परिवर्तन देखाएको छ ।

सार्वजनिक नतिजाअनुसार प्रतिनिधिसभामा युवा पुस्ताको उपस्थिति उल्लेख्य रूपमा बढेको छ ।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई ‘युवा’ मानिन्छ । नेपालको कुल जनसंख्यामध्ये १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा करिब ४०.३५ प्रतिशत रहेको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका केवल १० जना मात्रै निर्वाचित भएका थिए । त्यसबेला ७० वर्षमाथिका १४ जना सांसद निर्वाचित भएका थिए भने ४० देखि ७० वर्ष उमेर समूहका सांसदको संख्या सबैभन्दा धेरै (१३८) थियो ।

यस पटकको निर्वाचन परिणामले भने संसद्को उमेर संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको देखिन्छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार ४० वर्षमुनिका ५९ जना उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यस समूहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट वर्चस्व देखिएको छ । ५९ मध्ये ५१ जना रास्वपाबाट निर्वाचित हुँदा कांग्रेसबाट ४, एमालेबाट २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीबाट एक–एक जना निर्वाचित भएका छन् ।

सबैभन्दा कान्छा सांसद

मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती यस पटकका सबैभन्दा कान्छा प्रतिनिधिसभा सदस्य बनेका छन् । रास्वपा उम्मेदवार उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै एमालेका महेशकुमार बर्तौलालाई पराजित गरेका हुन् ।

मनहरी गाउँपालिका–७ का उप्रेती पर्यटन उद्यमी हुन् । स्नातक तहसम्म अध्ययन गरेका उनी पहिलो पटकको प्रयासमा नै प्रतिनिधिसभामा पुगेका हुन् । त्यस्तै पूर्वी नवलपरासी–२ बाट २६ वर्षीय मनीष खनाल, कैलाली–२ बाट २६ वर्षीय केपी खनाल, रूपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल, सिरहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता, झापा–१ बाट २९ वर्षीया निशा डाँगीलगायतका युवा नेताहरू पनि प्रतिनिधिसभामा प्रवेश गरेका छन् ।

त्यस्तै काठमाडौं–५ बाट २९ वर्षीय सस्मित पोखरेल, काठमाडौं–१ बाट ३० वर्षीया रन्जु न्यौपाने, सिरहा–२ बाट ३० वर्षीय शिवशंकर यादव, चितवन–३ बाट ३० वर्षीया सोबिता गौतम, मोरङ–६ बाट ३१ वर्षीया रुबिना आचार्य र प्यूठान–१ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक यही उमेर समूहका प्रतिनिधि हुन् ।

निर्वाचनअघि नै प्रधानमन्त्रीका उम्मेदवार भनिएका रास्वपाका बालेन्द्र शाह (बालेन) पनि युवा समूहमा पर्छन् । ३६ वर्षीय शाहले झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै सांसद निर्वाचित भएका हुन् ।

४१ देखि ५० वर्ष उमेर समूहका ५५ जना उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यस समूहमा पनि रास्वपाको वर्चस्व देखिएको छ । ५३ जनामध्ये ४१ जना रास्वपाका छन् भने कांग्रेसबाट ५ जना निर्वाचित भएका छन् ।

नेकपाबाट ४, एमालेबाट ३ र श्रम संस्कृतिबाट २ उम्मेदवार विजयी भएका छन् । यस समूहमा चितवन–१ बाट ४२ वर्षीय हरि ढकाल, धनुषा–३ बाट ४५ वर्षीय मनीष झा, कास्की–१ बाट ४६ वर्षीय खड्कराज पौडेल, ललितपुर–१ बाट ४७ वर्षीय बुद्धरत्न महर्जन र रूपन्देही–३ बाट ४८ वर्षीय डा. लेखजंग थापा निर्वाचित भएका छन् । त्यस्तै सुनसरी–१ बाट ४३ वर्षीय हर्कराज राई (श्रम संस्कृति पार्टी), दैलेख–१ बाट ४५ वर्षीया बासना थापा (कांग्रेस) र बाँके–२ बाट ४६ वर्षीय मोहम्मद इस्तियाक राई (एमाले) पनि यस समूहका प्रतिनिधि हुन् ।

५१ देखि ६० वर्ष उमेर समूहका ३६ जना उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यस समूहमा २८ जना रास्वपाका छन् भने कांग्रेसबाट ४ जना निर्वाचित भएका छन् । नेकपा र एमालेका दुई–दुई उम्मेदवार पनि यही उमेर समूहका छन् ।

यस समूहअन्तर्गत तनहुँ–१ बाट ५१ वर्षीय स्वर्णिम वाग्ले, काठमाडौं–९ बाट ५१ वर्षीय डोलप्रसाद अर्याल, सर्लाही–३ बाट ५३ वर्षीय नरेन्द्र साह कलवार र कास्की–३ बाट ५३ वर्षीया बिना गुरुङ, झापा–२ बाट ५५ वर्षीया इन्दिरा राना मगर निर्वाचित भएका छन् । त्यस्तै सुर्खेत–१ बाट ५८ वर्षीय विष्णुबहादुर खड्का (कांग्रेस), रोल्पा–१ बाट ५४ वर्षीय वर्षमान पुन (नेकपा) लगायतका नेता पनि यस उमेर समूहमा परेका छन् ।

६० वर्षमाथि ९ जना मात्रै

६० वर्षभन्दा माथिका उम्मेदवार भने तुलनात्मक रूपमा कम निर्वाचित भएका छन् । हालसम्म सार्वजनिक नतिजाअनुसार ६० वर्षभन्दा माथिका ९ जना मात्रै प्रतिनिधिसभामा पुगेका छन् । यस समूहबाट सोलुखुम्बु–१ बाट ६२ वर्षीय प्रकाश सिंह कार्की (कांग्रेस), दैलेख–२ बाट ६३ वर्षीय लक्ष्मीप्रसाद पोखरेल (एमाले) र डोटी–१ बाट ६८ वर्षीय भरतबहादुर खड्का (कांग्रेस) निर्वाचित भएका छन् ।

त्यस्तै कपिलवस्तु–२ बाट ६३ वर्षीय विक्रम थापा, सप्तरी–४ बाट ६५ वर्षीय सीताराम साह, रुकुम पूर्व–१ बाट ७० वर्षीय पुष्पकमल दाहाल र म्याग्दी–१ बाट ७१ वर्षीय महावीर पुन पनि निर्वाचित भएका छन् । समग्रमा हेर्दा यस पटकको प्रतिनिधिसभामा युवा उम्मेदवारहरूको सहभागिता उत्साहजनक देखिन्छ । तर शक्ति सन्तुलन गर्न नसके यो प्रभावकारी बन्न नसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

राजनीतिक विश्लेषक सुचेता प्याकुरेलका अनुसार नेपालको संसदीय राजनीतिमा युवा सहभागिता क्रमशः बढ्दै गएको छ । उनका अनुसार सन् १९९१ मा ५ प्रतिशतभन्दा कम रहेको युवा प्रतिनिधित्व संविधानसभाकालमा ८–१० प्रतिशत पुगेको थियो भने पछिल्लो समय करिब १२ प्रतिशतसम्म पुगेको देखिन्छ ।

युवा नेतृत्व बढेसँगै शिक्षा, डिजिटल शासन, जलवायु नीति र रोजगारी सिर्जनाजस्ता क्षेत्रमा नीतिगत प्राथमिकता परिवर्तन हुने संकेत देखिएको उनले बताइन् । तर उनले प्रशासनिक संरचना अझै पुरानै ढाँचामा रहेकाले युवा नेतृत्व र कर्मचारीतन्त्रबीच तालमेल नमिल्ने जोखिम पनि औंल्याइन् ।

‘लोकप्रिय नारा दिएर मात्र शासन चल्दैन । पर्याप्त अध्ययनबिनाका ‘पपुलिस्ट’ नीतिले दीर्घकालीन समस्या पनि निम्त्याउन सक्छ,’ प्याकुरेलले भनिन् । उनका अनुसार युवा नेतृत्वप्रति ७० प्रतिशत आशा र ३० प्रतिशत संशय देखिन्छ । ‘अनुभव र नयाँ सोचबीच सन्तुलन मिलाउन सके नेपालको शासन प्रणालीमा सकारात्मक परिवर्तन सम्भव छ,’ उनले भनिन् ।

युवा राजनीतिक विश्लेषक नवीन तिवारी भने संसद्मा युवाको बढ्दो उपस्थितिलाई सकारात्मक संकेत माने पनि केवल उमेरकै आधारमा परिवर्तनको अपेक्षा गर्न नहुने बताउँछन् । उनका अनुसार राजनीतिमा उमेरभन्दा महत्त्वपूर्ण कुरा नेतृत्वको नियत, इमानदारी र स्पष्ट भिजन हो ।

‘युवा नेतृत्व निर्वाचित भएर आउनु आफैंमा सकारात्मक पक्ष हो, तर राजनीतिमा उमेर मात्रै निर्णायक तत्त्व होइन,’ तिवारीले भने, ‘महत्त्वपूर्ण कुरा त उनीहरूको नियत, इमान र भिजन कस्तो छ र त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने हो ।’

तिवारीका अनुसार विगतमा पुराना नेताहरूले कुशासन चलाए भन्दैमा त्यो केवल उमेरकै कारण भएको ठहर गर्न मिल्दैन । ‘समस्या मुख्यतः नियतमा थियो । नियत सफा र काम गर्ने इच्छाशक्ति भएमा मात्र परिवर्तन सम्भव हुन्छ,’ उनले भने ।

तिवारीले पछिल्लो समय सामाजिक सञ्जालमा लोकप्रियता बटुल्ने प्रवृत्ति पनि राजनीतिमा देखिन थालेको उल्लेख गर्दै त्यसले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिए । ‘फेसबुकमा चटक देखाउने र सस्तो लोकप्रियताका लागि जनतालाई प्रभावित गर्ने प्रवृत्ति युवामा पनि देखिन्छ । त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने कुरा गम्भीर रूपमा सोच्नुपर्ने विषय हो,’ उनले भने ।

तिवारीले नेतृत्वका लागि उमेरभन्दा दृष्टिकोण र दूरदर्शिता महत्त्वपूर्ण हुने उदाहरण पनि दिए । ‘नेल्सन मन्डेला ७६ वर्षको उमेरमा नेतृत्वमा पुग्दा पनि उनले मुलुकलाई एकताबद्ध गर्ने र सही दिशा दिने काम गरे,’ उनले भने, ‘त्यसैले राजनीतिक सफलताका लागि युवा जोस मात्र पर्याप्त हुँदैन, त्यसमा स्पष्ट दृष्टिकोण, जिम्मेवारीबोध र इमानदारिता अनिवार्य हुन्छ ।’

Page 3
समाचार

प्रत्यक्षमा निर्वाचित १४ महिला मध्ये १३ सासंद रास्वपाका

प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी ११ प्रतिशत थियो, विजयी हुनेमा ८ प्रतिशत महिला, निर्वाचित हुनेमा रास्वपाबाहेक एक जना मात्र कांग्रेसबाट
- कान्तिपुर संवाददाता,प्रकृति दाहाल

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ १४ महिला निर्वाचित भएका छन् । रास्वपाबाट १३ र कांग्रेसबाट एक महिला विजयी भएका हुन् ।
प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये महिला उम्मेदवार ३ सय ९५ जना (११ प्रतिशत) थिए । प्रमुख दलमध्ये रास्वपाले १६, एमाले र नेकपाले १२ र कांग्रेसले ११ महिलालाई प्रत्यक्षतर्फ टिकट दिएका थिए । प्रत्यक्षतर्फ विजयी हुने महिलाको हिस्सा करिब ८ प्रतिशत छ ।

रास्वपाबाट इन्दिरा राना मगर, तोसिमा कार्की, सोबिता गौतम, निशा डाँगी, रन्जु न्यौपाने, रुबिना आचार्य, बिना गुरुङ, कोमल ज्ञवाली, आशा झा, नीतिमा भण्डारी कार्की, आसिका तामाङ, गौरी कुमारी र पुष्पाकुमारी चौधरीले चुनाव जितेका छन् । कांग्रेसबाट बासना थापा विजयी भएकी छन् । इन्दिरा, तोसिमा, सोबिता र निशा दोहोर्‍याएर प्रतिनिधिसभा सदस्य बनेका हुन्, अन्य भने
नयाँ हुन् ।

पूर्वउपसभामुख इन्दिरा राना मगर झापा–२ मा पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेकी छन् । उनले ६० हजार १ सय १० मत ल्याउँदा एमालेका घिमिरेले ११ हजार ३ सय ३८ मत ल्याए । उनी २०७९ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष थिइन् । उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिका लागि काम गरिरहेको छ । बीबीसीले इन्दिरालाई
सन् २०१७ मा बीबीसी–१०० महिलामा समावेश गरेको थियो ।

रास्वपाबाटै तोसिमा कार्की ललितपुर–३ बाट लगातार दोस्रो पटक विजयी भएकी हुन् । उनले यसपालि ४३ हजार ९६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । तोसिमा २०७२ को भूकम्प र कोभिड महामारीमा नागरिकको सेवामा खटिएकी चिकित्सक हुन् । मधेश प्रदेश, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लामा उनले स्वयंसेवा गरेकी थिइन् ।

उनले केही समय पाटन अस्पतालमा समेत काम गरिन् । २०७१/७२ देखि चिकित्सा क्षेत्रका विकृतिविरुद्ध आवाज उठाउँदै आएकी छन् । उनी माघ २०७९ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिन् । उनले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेर नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका विषयमा आवाज उठाउँथिन् । गत भदौको जेन–जी आन्दोलनको समर्थनमा उनी सडकमा निस्किएकी थिइन् ।

सोबिता गौतमले भने निर्वाचन क्षेत्र फेरेर लगातार दोस्रो पटक चुनाव जितेकी छन् । २०७९ मा काठमाडौं–२ मा चुनाव जितेकी उनले यसपालि चितवन–३ मा उम्मेदवारी दिएकी थिइन् । सोबिता ५९ हजार २ सय ७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले
२० हजार ६ सय १५ मत ल्याइन् । अधिवक्ता सोबिताले चार वर्षभन्दा बढी समयसम्म नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ नामक कार्यक्रम चलाएकी थिइन् ।

२०७९ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी निशा डाँगी यसपालि झापा–१ बाट विजयी भएकी छन् । उनले ४५ हजार ६ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका केशवराज पाण्डेका पक्षमा १० हजार ५ सय ५० मत खसेको थियो । १६ मंसिर २०५३ मा जन्मिएकी निशा अघिल्लो प्रतिनिधिसभाकी कान्छी सदस्य थिइन् । भद्रपुर नगरपालिकाकी उनी राजनीतिमा आउनुअघि सञ्चारकर्ममा सक्रिय थिइन् ।

रास्वपाकी रन्जु न्यौपाने काठमाडौं–१ बाट विजयी भएकी हुन् । उनले १५ हजार ४ सय ५५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत ल्याएका थिए । रन्जु २०७० तिर विवेकशील नेपाली पार्टीसँग जोडिएकी थिइन् । २०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्दा उनी केवल २१ वर्षकी थिइन् । उनले २०७९ मा स्वतन्त्र रूपमा काठमाडौं–५ मा उम्मेदवारी दिएकी थिइन् तर चुनाव जित्न सकिनन् । गत मंसिरमा रास्वपासँग एकता हुनुअघि रन्जु विवेकशील साझा पार्टीमा महासचिव थिइन् ।

रुविना आचार्य मोरङ–६ मा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गर्दै सांसद बनेकी छन् । उनले ५५ हजार ५ सय १३ मत ल्याउँदा कोइरालालाई १२ हजार ८ सय ५० मत खसेको थियो । विराटनगर–४ को आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाले काठमाडौं विश्वविद्यालयबाट एमबीए अध्ययन गरेकी छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी विवेकशील साझाबाट चुनावी प्रचार अभियानमा सक्रिय थिइन् । उनले विवेकशील साझा पार्टीको युवा संगठनको बागमती प्रदेश समितिमा रहेर काम गरिन् । पार्टीमा सक्रिय रहँदै उनी केन्द्रीय सदस्यसमेत बनिन् । उनी चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले सञ्चालन गरेको आन्दोलनमा संलग्न थिइन् ।

मोरङ–५ बाट आशा झा विजयी भएकी छन् । झाले ३० हजार ४ सय ३४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४ सय १५ मत प्राप्त गरे । विराटनगर–१३ की आशाले जनस्वास्थ्यमा स्नातक गरेकी छन् । राजनीतिमा आउनुअघि उनी स्वास्थ्य स्वयंसेविका थिइन् । उनी निर्माण व्यवसायीसमेत हुन् ।

बिना गुरुङ कास्की–३ बाट विजयी भएकी छन् । उनले ३७ हजार ७ सय ५० मतसहित चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गरे । पर्वतमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी ५३ वर्षीया बिना समाजसेवामा सक्रिय थिइन् । सञ्जीवनी दिदीबहिनी संघ नेपालको संस्थापक अध्यक्ष रहेकी उनले महिला एकता र सशक्तीकरणका लागि काम गरेकी छन् ।

रास्वपामा आबद्ध भएपछि उनी गण्डकी प्रदेश समितिमा कोषाध्यक्ष भइन् । उनी गण्डकीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित एकमात्र महिला हुन् ।

कोमल ज्ञवाली कैलाली–१ मा १७ हजार ८ सय ६२ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत ल्याए । २०३५ मा जन्मिएकी कोमल टीकापुरकी बासिन्दा हुन् । व्यवस्थापन संकायमा स्नातक (बीबीएस) उत्तीर्ण गरेकी कोमल राजनीतिमा पूर्णकालीन हुनुअघि कृषि व्यवसायी थिइन् । उनको सक्रिय राजनीतिक यात्रा भने नागरिक उन्मुक्ति पार्टीबाट सुरु भएको थियो । उन्मुक्ति पार्टीबाट अलग भएर उनी रास्वपा प्रवेश गरेकी हुन् ।

नीतिमा भण्डारी कार्कीले सर्लाही–१ बाट चुनाव जितेकी छन् । उनले ४४ हजार १ सय ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरे । उनी महिला सशक्तीकरण, शिक्षा प्रवर्द्धन र स्थानीय विकासलाई प्राथमिकता दिएर चुनावमा होमिएकी थिइन् ।

समाजका बेथिति र विकृतिका विरुद्ध आवाज उठाउँदै आएकी आसिका तामाङ पनि प्रतिनिधिसभा सदस्य बनेकी छन् । धादिङ–१ बाट ३९ हजार १ सय २८ मत प्राप्त गरेर उनी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।
महोत्तरी–४ बाट ३० हजार १ सय ३२ मतसहित गौरी कुमारी विजय भएकी छन् ।

उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८ हजार ७ सय ४२ मत ल्याएका थिए । गौरीले विज्ञान विषयमा प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी छन् । रास्वपाकी पुष्पाकुमारी चौधरीले सप्तरी–१ बाट चुनाव जितिन् । उनले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो स्थानमा स्वाभिमान पार्टीका सुमितकुमार रहे, जसले ७ हजार ८ सय ४७ मत ल्याएका थिए ।

रास्वपाका तीन महिला उम्मेदवार विनिता कठायत (जुम्ला), गोमा तामाङ (सुनसरी–१) र टासी ल्हान्जोम (हुम्ला) पराजित भए । कांग्रेसकी बासना थापा दैलेख–१ बाट विजयी भइन् । उनले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरे । काठमाडौंमा जन्मिएकी बासना २०५७ देखि कांग्रेस निकट विद्यार्थी संगठनबाट राजनीतिमा होमिएकी हुन् ।

२०६१ मा कांग्रेसको क्रियाशील सदस्य बनेकी उनी कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । यसअघि २०७९ मा ९ र २०७४ मा ६ महिला प्रत्यक्षबाट निर्वाचित भएका थिए । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मा ३३ प्रतिशत महिला सहभागिता गराउनैपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले समानुपातिक प्रणालीबाट महिलाको प्रतिनिधित्व एकतिहाइ पुर्‍याउने गरिएको छ । ६ सय १ सदस्यीय संविधानसभामा २०६४ मा ३० र २०७० मा १० महिलाले चुनाव जितेका थिए ।

एमाले नेता बिन्दा पाण्डेले अहिलेको जितलाई महिला/पुरुषभन्दा पनि पार्टीको लहरले परिणाम ल्याएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘परिवर्तनको लहरमा जो उठेको छ, त्यसले जित्ने गर्छ, २०६४ मा पनि माओवादीबाट जित्ने महिला धेरै थिए ।’ पार्टीको लहरका कारण नचिनिएका व्यक्तिले पनि चुनाव चिह्नका आधारमा जित्ने गरेको उनको भनाइ छ ।

राजनीतिज्ञ सुचेता प्याकुरेल अहिलेको चुनावी परिणामलाई एक विद्रोहको संज्ञा दिन्छिन् । ‘विद्रोहपश्चात्को सुनामीको लहर यो चुनावमा आयो । त्यही लहरमा कतिपय महिला विजयी भए,’ उनी भन्छिन्, ‘तोसिमा, रन्जु जस्ता नेताले विद्रोहबाटै चुनाव जिते । तर नयाँ पार्टी रास्वपामा पनि पितृसत्तात्मक सोच हाबी छ ।’

समाचार

हरेक लहरको नेतृत्व गर्ने काठमाडौं उपत्यका

२०६४ को माओवादी लहर वा २०७४ को वाम गठबन्धनको लहरमा पनि काठमाडौं–१ र काठमाडौं–४ मा कांग्रेस तथा भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार नै विजयी हुने गरेका थिए ।
तर यस पटक भने यस्ता गढ क्षेत्रलाई पनि रास्वपाले भत्काउन सफल हुादै उपत्यकाका १५ वटै सिटमा विजयी भयो
- कान्तिपुर संवाददाता,किशोर दहाल (काठमाडौं)

यस पटकको निर्वाचनमा काठमाडौं उपत्यकाका १५ सिटमै रास्वपाका उम्मेदवार विजयी भए । यसअघिका निर्वाचनमा राजनीतिक पकड राखेका कांग्रेस, एमालेलगायतका ऐतिहासिक पृष्ठभूमि बोकेका दलका उम्मेदवार यस पटक भने ठूलो मतान्तरका साथ पराजित भएका छन् ।

नेपाल मजदुर किसान पार्टीको अभेद्य किल्लाका रूपमा चिनिँदै आएको भक्तपुर–१ मा समेत रास्वपाका रुकेश रञ्जित निर्वाचित भएका छन् । त्यस्तै भक्तपुर–२ मा पनि रास्वपाका राजीव खत्री जित हासिल गरेका छन् ।

२०७९ को निर्वाचनमा काठमाडौं उपत्यकाको १५ सिटमध्ये रास्वपाले ५ वटामा मात्रै जित्न सकेको थियो । त्यतिबेला कांग्रेसले ७, एमालेले २ र नेमकिपाले १ सिट जितेका थिए ।

तीन वर्षपछि गत २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले देशभर नै छलाङ मारेको हो । काठमाडौं उपत्यका ‘भोट स्विङ’ का लागि परिचित छ । २०३८ मा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पनि नानीमैयाँ दाहालको जितलाई धेरैले अप्रत्याशित नतिजाका रूपमा चर्चा गर्छन् । यद्यपि, त्यसपछि पनि यहाँका जनताले मत अदलबदललाई आफ्नो नियमित आदत बनाउँदै आएका छन् । कहिलेकाहीँ अनौठो छनोटसमेत हुने गरेको छ ।

२०४८ मा काठमाडौंमा ५, ललितपुरमा ३ र भक्तपुरमा २ वटा गरी उपत्यकामा जम्मा १० वटा मात्रै निर्वाचन क्षेत्र थिए । त्यतिबेला काठमाडौंका पाँचमध्ये चार वटा (काठमाडौं–२ बाहेक) क्षेत्रमा एमालेले जितेको थियो । काठमाडौं–१ बाट एमाले महासचिव मदनकुमार भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

ललितपुरका १ र २ मा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नं. ३ मा भने संयुक्त जनमोर्चा नेपालका उम्मेवार विजयी भएका थिए । भक्तपुर–१ मा नेमकिपा र २ मा कांग्रेस विजयी भएका थिए ।

यसरी बहुदलपछिको पहिलो निर्वाचनमै काठमाडौं र ललितपुरमा कम्युनिस्ट पार्टीको प्रभाव बलियो बनेको देखिन्छ । त्यो प्रभाव २०५१ को मध्यावधि निर्वाचनमा अझ बलियो बन्यो । त्यस निर्वाचनमा काठमाडौंमा ७ वटा क्षेत्र कायम भएको थियो ।

सबैमा एमालेका उम्मेदवार विजयी भएका थिए । ललितपुरका तीन निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार नै विजयी भएका थिए । भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा नेमकिपा विजयी भएको थियो । यसरी बहुदल प्राप्तिपछिको दोस्रो निर्वाचनमा काठमाडौं उपत्यकाको सबै क्षेत्रमा कम्युनिस्ट उम्मेदवार विजयी भएका थिए ।

२०५६ को निर्वाचनअघि सत्ताको खेल र अस्थिरताले कांग्रेस तथा एमाले दुवै बदनाम भइसकेका थिए । तैपनि बलियो विकल्प तयार नहुँदा एमालेको प्रभाव देखिने गरी मिश्रित नतिजा आएको देखिन्छ । काठमाडौंका ७ मध्ये ५ वटा (१, २, ३, ५ र ६) मा एमाले र २ वटा (४ र ७) क्षेत्रमा कांग्रेस विजयी भएको थियो । ललितपुरका तीन वटै क्षेत्रमा एमाले विजयी भएको थियो । भक्तपुर–१ मा नेमकिपा र २ मा कांग्रेस विजयी भएको थियो ।

बहुदलकालभर बलियो एमाले २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा भने साह्रै कमजोर बन्यो । त्यतिबेला कायम काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये एमालेले एउटै क्षेत्र पनि जित्न सकेन । नयाँ शक्तिका रूपमा निर्वाचनमा होमिएको माओवादीले आफ्नो प्रभाव देखायो । कांग्रेस पनि प्रभावशाली नै रह्यो ।

२०६४ मा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा (२, ६, ७ र १०) मा माओवादी उम्मेदवार विजयी भए । काठमाडौं–२ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई माओवादीका झक्कु सुवेदीले पराजित गरिदिएका थिए ।

सशस्त्र द्वन्द्वको नेतृत्व गरेर आएका पुष्पकमल दाहालले काठमाडौं–१० बाट जिते । बाँकी ६ वटा निर्वाचन क्षेत्रहरू (१, ३, ४, ५, ८ र ९) मा कांग्रेस उम्मेदवार विजयी भएका थिए । एमालेले जित्दै आएको ललितपुरका तीन वटै क्षेत्रमा माओवादीले जित्यो । भक्तपुरका दुवै क्षेत्रमा नेमकिपाले जित्यो । २०५१ पछि २०६४ मा आएर भक्तपुरका दुवै क्षेत्र नेमकिपाको भागमा परेका थिए ।

२०६४ पछिका राजनीतिबाट माओवादीको लोकप्रियता खस्कियो । त्यसको प्रभाव २०७० को निर्वाचनमा देखियो । देशभरका निर्वाचन क्षेत्रमा उसको प्रभाव कमजोर रह्यो, काठमाडौं उपत्यकामा जस्तै ।

२०६४ मा काठमाडौं उपत्यकाका १५ मध्ये ७ वटा निर्वाचन क्षेत्रमा जितेको माओवादीले २०७० मा एउटा पनि सिट जित्न सकेन । यहाँ कांग्रेस र एमालेकै वर्चस्व फर्कियो । जसअनुसार कांग्रेसले काठमाडौंका १० मध्ये ७ वटा (१, ४, ५, ६, ८, ९ र १०) र एमालेले ३ वटा (२, ३ र ७) निर्वाचन क्षेत्रमा जिते ।

२०४८ देखि कम्युनिस्ट पार्टीहरूले मात्रै जित्दै आएको ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए । भक्तपुर–२ मा पनि कांग्रेस नै विजयी भयो । भक्तपुर–१ बाट भने नेमकिपा नै विजयी भयो ।

यहाँका मतदाताले आवधिक निर्वाचनमा मात्रै होइन, केही महिनामै हुने उपनिर्वाचनमा पनि मत बदल्न सक्छन् भनेर बुझ्ने एउटा सन्दर्भ हो– असार २०७१ को उपनिर्वाचन । मंसिर २०७० मा दुई ठाउँबाट निर्वाचित भएका एमाले उम्मेदवार माधवकुमार नेपालले छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल विजयी भएका थिए ।

२०७४ मा एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचनमा होमिएपछि काठमाडौं उपत्यकामा पुनः कम्युनिस्टहरूको प्रभाव बढ्यो । यसमा एमालेले काठमाडौंका १० मध्ये ६ वटा (२, ३, ५, ७, ८ र ९) क्षेत्रमा जितेको थियो ।

कांग्रेसले ४ वटा (१, ४, ६ र १०) क्षेत्रमा जितेको थियो । ललितपुरमा पुनः कम्युनिस्ट प्रभाव देखियो । एमालेले ललितपुर– १ र २ तथा माओवादीले ३ मा जित्यो । भक्तपुर–२ पनि पहिलो पटक एमाले उम्मेदवार विजयी भए । भक्तपुर–१ मा नेमकिपाकै उम्मेदवार विजयी भए ।

२०७९ को निर्वाचनबाट नयाँ राजनीतिक शक्तिको प्रवेश भयो, उपत्यकाका एक तिहाइ सिट जित्दै । नयाँ दल रास्वपाले काठमाडौंका १० मध्ये ४ (२, ६, ७ र ८) र ललितपुर–३ मा विजयी भयो । त्यस्तै कांग्रेसले काठमाडौंका ५ वटा (१, ३, ४, ५ र १०) क्षेत्र जित्यो । ललितपुर–१ र भक्तपुर–२ मा पनि जित्यो । एमाले काठमाडौं–९ र ललितपुर–२ मा सीमित भयो । उपत्यकाबाट माओवादी पुनः बढारियो ।

यसअघिका अदलबदलमा पनि कतिपय क्षेत्रमा खासै प्रभाव पर्ने गरेको थिएन । जस्तो कि, २०६४ को माओवादी लहर वा २०७४ को वाम गठबन्धनको लहरमा पनि काठमाडौं–१ र काठमाडौं–४ मा कांग्रेस उम्मेदवार नै विजयी हुने गरेका थिए । अन्यत्र जे जसो भए पनि भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार नै विजयी हुने गरेका थिए ।

यस पटक भने यस्ता गढ क्षेत्रलाई पनि रास्वपाले भत्काउन सफल भयो । राजधानीमा मतदाताले निरन्तर फरक दललाई अवसर दिने गरेको अनुभव फ्रान्स, जापान, कोरियाजस्ता देशहरूमा पनि प्रशस्तै हुने गरेको बताउँछन्, राजनीतिक विश्लेषक सन्जिब हुमागाईं । मूलतः राजधानीमा र वरिपरि वा बन्दै गरेका सहरहरूमा निरन्तर जनसंख्या थपिँदा नयाँ विचार र धारणाले प्राथमिकता पाउने उनको भनाइ छ ।

राजधानीमा आउने नयाँ व्यक्ति सामान्यतया मध्यम वर्गका हुन्छन् । उनीहरूका अर्थ–सामाजिक मुद्दामा समर्थन गर्ने दल वा उम्मेदवारहरू मतदाताको रोजाइमा पर्छन् । ‘कहिलेकाहीँ नयाँ जनसंख्यालाई मात्रै ध्यान दिइयो भनेर आफ्नो संस्कृति, परम्परा वा विचारलाई ध्यान दिने रैथाने उम्मेदवारहरू खोज्ने प्रचलन पनि छ,’ हुमागाईं भन्छन्, ‘काठमाडौंको हकमा यसको पृथक् विद्रोही स्वभाव पनि छ । यसले मूलतः सत्तालाई समर्थन गर्नेभन्दा पनि स्थापित सत्ताविरोधीलाई थप अवसर दिने गरेको देखिन्छ ।’

समाचार

हरेक लहरको नेतृत्व गर्ने काठमाडौं उपत्यका

२०६४ को माओवादी लहर वा २०७४ को वाम गठबन्धनको लहरमा पनि काठमाडौं–१ र काठमाडौं–४ मा कांग्रेस तथा भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार नै विजयी हुने गरेका थिए ।
तर यस पटक भने यस्ता गढ क्षेत्रलाई पनि रास्वपाले भत्काउन सफल हुँदै उपत्यकाका १५ वटै सिटमा विजयी भयो।
- कान्तिपुर संवाददाता,किशोर दाहाल

यस पटकको निर्वाचनमा काठमाडौं उपत्यकाका १५ सिटमै रास्वपाका उम्मेदवार विजयी भए । यसअघिका निर्वाचनमा राजनीतिक पकड राखेका कांग्रेस, एमालेलगायतका ऐतिहासिक पृष्ठभूमि बोकेका दलका उम्मेदवार यस पटक भने ठूलो मतान्तरका साथ पराजित भएका छन् । नेपाल मजदुर किसान पार्टीको अभेद्य किल्लाका रूपमा चिनिँदै आएको भक्तपुरका दुवै क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भए ।

 

२०७९ को निर्वाचनमा काठमाडौं उपत्यकाको १५ सिटमध्ये रास्वपाले ५ वटामा मात्रै जित्न सकेको थियो । त्यतिबेला कांग्रेसले ७, एमालेले २ र नेमकिपाले १ सिट जितेका थिए । तीन वर्षपछि गत २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले देशभर नै छलाङ मारेको हो । काठमाडौं उपत्यका ‘भोट स्विङ’ का लागि परिचित छ । २०३८ मा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पनि नानीमैयाँ दाहालको जितलाई धेरैले अप्रत्याशित नतिजाका रूपमा चर्चा गर्छन् । यद्यपि, त्यसपछि पनि यहाँका जनताले मत अदलबदललाई आफ्नो नियमित आदत बनाउँदै आएका छन् । कहिलेकाहीँ अनौठो छनोटसमेत हुने गरेको छ ।

 

२०४८ मा काठमाडौंमा ५, ललितपुरमा ३ र भक्तपुरमा २ वटा गरी उपत्यकामा जम्मा १० वटा मात्रै निर्वाचन क्षेत्र थिए । त्यतिबेला काठमाडौंका पाँचमध्ये चार वटा (काठमाडौं–२ बाहेक) क्षेत्रमा एमालेले जितेको थियो । काठमाडौं–१ बाट एमाले महासचिव मदनकुमार भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । ललितपुरका १ र २ मा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नं. ३ मा भने संयुक्त जनमोर्चा नेपालका उम्मेवार विजयी भएका थिए । भक्तपुर–१ मा नेमकिपा र २ मा कांग्रेस विजयी भएका थिए ।

 

यसरी बहुदलपछिको पहिलो निर्वाचनमै काठमाडौं र ललितपुरमा कम्युनिस्ट पार्टीको प्रभाव बलियो बनेको देखिन्छ । त्यो प्रभाव २०५१ को मध्यावधि निर्वाचनमा अझ बलियो बन्यो । त्यस निर्वाचनमा काठमाडौंमा ७ वटा क्षेत्र कायम भएको थियो । सबैमा एमालेका उम्मेदवार विजयी भएका थिए । ललितपुरका तीन निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार नै विजयी भएका थिए । भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा नेमकिपा विजयी भएको थियो । यसरी बहुदल प्राप्तिपछिको दोस्रो निर्वाचनमा काठमाडौं उपत्यकाको सबै क्षेत्रमा कम्युनिस्ट उम्मेदवार विजयी भएका थिए ।

 

२०५६ को निर्वाचनअघि सत्ताको खेल र अस्थिरताले कांग्रेस तथा एमाले दुवै बदनाम भइसकेका थिए । तैपनि बलियो विकल्प तयार नहुँदा एमालेको प्रभाव देखिने गरी मिश्रित नतिजा आएको देखिन्छ । काठमाडौंका ७ मध्ये ५ वटा (१, २, ३, ५ र ६) मा एमाले र २ वटा (४ र ७) क्षेत्रमा कांग्रेस विजयी भएको थियो । ललितपुरका तीन वटै क्षेत्रमा एमाले विजयी भएको थियो । भक्तपुर–१ मा नेमकिपा र २ मा कांग्रेस विजयी भएको थियो ।

 

बहुदलकालभर बलियो एमाले २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा भने साह्रै कमजोर बन्यो । त्यतिबेला कायम काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये एमालेले एउटै क्षेत्र पनि जित्न सकेन । नयाँ शक्तिका रूपमा निर्वाचनमा होमिएको माओवादीले आफ्नो प्रभाव देखायो । कांग्रेस पनि प्रभावशाली नै रह्यो ।

 

२०६४ मा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा (२, ६, ७ र १०) मा माओवादी उम्मेदवार विजयी भए । काठमाडौं–२ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई माओवादीका झक्कु सुवेदीले पराजित गरिदिएका थिए । सशस्त्र द्वन्द्वको नेतृत्व गरेर आएका पुष्पकमल दाहालले काठमाडौं–१० बाट जिते । बाँकी ६ वटा निर्वाचन क्षेत्रहरू (१, ३, ४, ५, ८ र ९) मा कांग्रेस उम्मेदवार विजयी भएका थिए । एमालेले जित्दै आएको ललितपुरका तीन वटै क्षेत्रमा माओवादीले जित्यो । भक्तपुरका दुवै क्षेत्रमा नेमकिपाले जित्यो । २०५१ पछि २०६४ मा आएर भक्तपुरका दुवै क्षेत्र नेमकिपाको भागमा परेका थिए । 

२०६४ पछिका राजनीतिबाट माओवादीको लोकप्रियता खस्कियो । त्यसको प्रभाव २०७० को निर्वाचनमा देखियो । देशभरका निर्वाचन क्षेत्रमा उसको प्रभाव कमजोर रह्यो, काठमाडौं उपत्यकामा जस्तै । २०६४ मा काठमाडौं उपत्यकाका १५ मध्ये ७ वटा निर्वाचन क्षेत्रमा जितेको माओवादीले २०७० मा एउटा पनि सिट जित्न सकेन । यहाँ कांग्रेस र एमालेकै वर्चस्व फर्कियो । जसअनुसार कांग्रेसले काठमाडौंका १० मध्ये ७ वटा (१, ४, ५, ६, ८, ९ र १०) र एमालेले ३ वटा (२, ३ र ७) निर्वाचन क्षेत्रमा जिते । २०४८ देखि कम्युनिस्ट पार्टीहरूले मात्रै जित्दै आएको ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए । भक्तपुर–२ मा पनि कांग्रेस नै विजयी भयो । भक्तपुर–१ बाट भने नेमकिपा नै विजयी भयो ।

 

यहाँका मतदाताले आवधिक निर्वाचनमा मात्रै होइन, केही महिनामै हुने उपनिर्वाचनमा पनि मत बदल्न सक्छन् भनेर बुझ्ने एउटा सन्दर्भ हो– असार २०७१ को उपनिर्वाचन । मंसिर २०७० मा दुई ठाउँबाट निर्वाचित भएका एमाले उम्मेदवार माधवकुमार नेपालले छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल विजयी भएका थिए ।

२०७४ मा एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचनमा होमिएपछि काठमाडौं उपत्यकामा पुनः कम्युनिस्टहरूको प्रभाव बढ्यो । यस निर्वाचनमा एमालेले काठमाडौंका १० मध्ये ६ वटा (२, ३, ५, ७, ८ र ९) क्षेत्रमा जितेको थियो । कांग्रेसले ४ वटा (१, ४, ६ र १०) क्षेत्रमा जितेको थियो । ललितपुरमा पुनः कम्युनिस्ट प्रभाव देखियो । एमालेले ललितपुर– १ र २ तथा माओवादीले ३ मा जित्यो । भक्तपुर–२ पनि पहिलो पटक एमाले उम्मेदवार विजयी भए । भक्तपुर–१ मा नेमकिपाकै उम्मेदवार विजयी भए ।

 

२०७९ को निर्वाचनबाट नयाँ राजनीतिक शक्तिको प्रवेश भयो, उपत्यकाका एक तिहाइ सिट जित्दै । नयाँ दल रास्वपाले काठमाडौंका १० मध्ये ४ (२, ६, ७ र ८) र ललितपुर–३ मा विजयी भयो । त्यस्तै कांग्रेसले काठमाडौंका ५ वटा (१, ३, ४, ५ र १०) क्षेत्र जित्यो । ललितपुर–१ र भक्तपुर–२ मा पनि जित्यो । एमाले काठमाडौं–९ र ललितपुर–२ मा सीमित भयो । उपत्यकाबाट माओवादी पुनः बढारियो ।

 

यसअघिका अदलबदलमा पनि कतिपय क्षेत्रमा खासै प्रभाव पर्ने गरेको थिएन । जस्तो कि, २०६४ को माओवादी लहर वा २०७४ को वाम गठबन्धनको लहरमा पनि काठमाडौं–१ र काठमाडौं–४ मा कांग्रेस उम्मेदवार नै विजयी हुने गरेका थिए । अन्यत्र जे जसो भए पनि भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार नै विजयी हुने गरेका थिए । यस पटक भने यस्ता गढ क्षेत्रलाई पनि रास्वपाले भत्काउन सफल भयो । राजधानीमा मतदाताले निरन्तर फरक दललाई अवसर दिने गरेको अनुभव फ्रान्स, जापान, कोरियाजस्ता देशहरूमा पनि प्रशस्तै हुने गरेको बताउँछन्, राजनीतिक विश्लेषक सन्जिब हुमागाईं । मूलतः राजधानीमा र वरिपरि वा बन्दै गरेका सहरहरूमा निरन्तर जनसंख्या थपिँदा नयाँ विचार र धारणाले प्राथमिकता पाउने उनको भनाइ छ ।

 

राजधानीमा आउने नयाँ व्यक्ति सामान्यतया मध्यम वर्गका हुन्छन् । उनीहरूका अर्थ–सामाजिक मुद्दामा समर्थन गर्ने दल वा उम्मेदवारहरू मतदाताको रोजाइमा पर्छन् । ‘त्यसो त कहिलेकाहीँ नयाँ जनसंख्यालाई मात्रै ध्यान दिइयो भनेर आफ्नो संस्कृति, परम्परा वा विचारलाई ध्यान दिने रैथाने उम्मेदवारहरू खोज्ने प्रचलन पनि छ,’ हुमागाईं भन्छन्, ‘काठमाडौंको हकमा यसको पृथक् विद्रोही स्वभाव पनि छ । यसले मूलतः स्थापित सत्तालाई समर्थन गर्नेभन्दा पनि स्थापित सत्ताविरोधीहरूलाई थप अवसर दिने गरेको देखिन्छ ।’

समाचार

प्रत्यक्षमा निर्वाचित १४ महिला मध्ये १३ सासंद रास्वपाका

प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी ११ प्रतिशत थियो, विजयी हुनेमा ८ प्रतिशत महिला, निर्वाचित हुनेमा रास्वपाबाहेक एक जना मात्र कांग्रेसबाट।
- कान्तिपुर संवाददाता,प्रकृति दाहाल

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ १४ महिला निर्वाचित भएका छन् । रास्वपाबाट १३ र कांग्रेसबाट एक महिला विजयी भएका हुन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये महिला उम्मेदवार ३ सय ९५ जना (११ प्रतिशत) थिए । प्रमुख दलमध्ये रास्वपाले १६, एमाले र नेकपाले १२ र कांग्रेसले ११ महिलालाई प्रत्यक्षतर्फ टिकट दिएका थिए । प्रत्यक्षतर्फ विजयी हुने महिलाको हिस्सा करिब ८ प्रतिशत छ । 

रास्वपाबाट इन्दिरा राना मगर, तोसिमा कार्की, सोबिता गौतम, निशा डाँगी, रन्जु न्यौपाने, रुबिना आचार्य, बिना गुरुङ, कोमल ज्ञवाली, आशा झा, नीतिमा भण्डारी कार्की, आसिका तामाङ, गौरी कुमारी र पुष्पाकुमारी चौधरीले चुनाव जितेका छन् । कांग्रेसबाट बासना थापा विजयी भएकी छन् । इन्दिरा, तोसिमा, सोबिता र निशा दोहोर्‍याएर प्रतिनिधिसभा सदस्य बनेका हुन्, अन्य भने नयाँ हुन् । 

पूर्वउपसभामुख इन्दिरा राना मगर झापा–२ मा पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेकी छन् । उनले ६० हजार १ सय १० मत ल्याउँदा एमालेका घिमिरेले ११ हजार ३ सय ३८ मत ल्याए । उनी २०७९ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष थिइन् । उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिका लागि काम गरिरहेको छ । बीबीसीले इन्दिरालाई सन् २०१७ मा बीबीसी–१०० महिलामा समावेश गरेको थियो । 

रास्वपाबाटै तोसिमा कार्की ललितपुर–३ बाट लगातार दोस्रो पटक विजयी भएकी हुन् । उनले यसपालि ४३ हजार ९६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । तोसिमा २०७२ को भूकम्प र कोभिड महामारीमा नागरिकको सेवामा खटिएकी चिकित्सक हुन् । मधेश प्रदेश, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लामा उनले स्वयंसेवा गरेकी थिइन् । उनले केही समय पाटन अस्पतालमा समेत काम गरिन् । २०७१/७२ देखि चिकित्सा क्षेत्रका विकृतिविरुद्ध आवाज उठाउँदै आएकी छन् । उनी माघ २०७९ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिन् । उनले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेर नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका विषयमा आवाज उठाउँथिन् । गत भदौको जेन–जी आन्दोलनको समर्थनमा उनी सडकमा निस्किएकी थिइन् । 

सोबिता गौतमले भने निर्वाचन क्षेत्र फेरेर लगातार दोस्रो पटक चुनाव जितेकी छन् । २०७९ मा काठमाडौं–२ मा चुनाव जितेकी उनले यसपालि चितवन–३ मा उम्मेदवारी दिएकी थिइन् । सोबिता ५९ हजार २ सय ७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । अधिवक्ता सोबिताले चार वर्षभन्दा बढी समयसम्म नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ नामक कार्यक्रम चलाएकी थिइन् । 

२०७९ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी निशा डाँगी यसपालि झापा–१ बाट विजयी भएकी छन् । उनले ४५ हजार ६ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका केशवराज पाण्डेका पक्षमा १० हजार ५ सय ५० मत खसेको थियो । १६ मंसिर २०५३ मा जन्मिएकी निशा अघिल्लो प्रतिनिधिसभाकी कान्छी सदस्य थिइन् । भद्रपुर नगरपालिकाकी उनी राजनीतिमा आउनुअघि सञ्चारकर्ममा सक्रिय थिइन् । 

रास्वपाकी रन्जु न्यौपाने काठमाडौं–१ बाट विजयी भएकी हुन् । उनले १५ हजार ४ सय ५५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत ल्याएका थिए । रन्जु २०७० तिर विवेकशील नेपाली पार्टीसँग जोडिएकी थिइन् । २०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्दा उनी केवल २१ वर्षकी थिइन् । उनले २०७९ मा स्वतन्त्र रूपमा काठमाडौं–५ मा उम्मेदवारी दिएकी थिइन् तर चुनाव जित्न सकिनन् । गत मंसिरमा रास्वपासँग एकता हुनुअघि रन्जु विवेकशील साझा पार्टीमा महासचिव थिइन् । 

रुविना आचार्य मोरङ–६ मा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गर्दै सांसद बनेकी छन् । उनले ५५ हजार ५ सय १३ मत ल्याउँदा कोइरालालाई १२ हजार ८ सय ५० मत खसेको थियो । विराटनगर–४ को आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाले काठमाडौं विश्वविद्यालयबाट एमबीए अध्ययन गरेकी छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी विवेकशील साझाबाट चुनावी प्रचार अभियानमा सक्रिय थिइन् । उनले विवेकशील साझा पार्टीको युवा संगठनको बागमती प्रदेश समितिमा रहेर काम गरिन् । पार्टीमा सक्रिय रहँदै उनी केन्द्रीय सदस्यसमेत बनिन् । उनी चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले सञ्चालन गरेको आन्दोलनमा संलग्न थिइन् ।

मोरङ–५ बाट आशा झा विजयी भएकी छन् । झाले ३० हजार ४ सय ३४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४ सय १५ मत प्राप्त गरे । विराटनगर–१३ की आशाले जनस्वास्थ्यमा स्नातक गरेकी छन् । राजनीतिमा आउनुअघि उनी स्वास्थ्य स्वयंसेविका थिइन् । उनी निर्माण व्यवसायीसमेत हुन् । 

बिना गुरुङ कास्की–३ बाट विजयी भएकी छन् । उनले ३७ हजार ७ सय ५० मतसहित चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गरे । पर्वतमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी ५३ वर्षीया बिना समाजसेवामा सक्रिय थिइन् । सञ्जीवनी दिदीबहिनी संघ नेपालको संस्थापक अध्यक्ष रहेकी उनले महिला एकता र सशक्तीकरणका लागि काम गरेकी छन् । रास्वपामा आबद्ध भएपछि उनी गण्डकी प्रदेश समितिमा कोषाध्यक्ष भइन् । उनी गण्डकीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित एकमात्र महिला हुन् । 

कोमल ज्ञवाली कैलाली–१ मा १७ हजार ८ सय ६२ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत ल्याए । २०३५ मा जन्मिएकी कोमल टीकापुरकी बासिन्दा हुन् । व्यवस्थापन संकायमा स्नातक (बीबीएस) उत्तीर्ण गरेकी कोमल राजनीतिमा पूर्णकालीन हुनुअघि कृषि व्यवसायी थिइन् । उनको सक्रिय राजनीतिक यात्रा भने नागरिक उन्मुक्ति पार्टीबाट सुरु भएको थियो । उन्मुक्ति पार्टीबाट अलग भएर उनी रास्वपा प्रवेश गरेकी हुन् । 

नीतिमा भण्डारी कार्कीले सर्लाही–१ बाट चुनाव जितेकी छन् । उनले ४४ हजार १ सय ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरे । उनी महिला सशक्तीकरण, शिक्षा प्रवर्द्धन र स्थानीय विकासलाई प्राथमिकता दिएर चुनावमा होमिएकी थिइन् ।

समाजका बेथिति र विकृतिका विरुद्ध आवाज उठाउँदै आएकी आसिका तामाङ पनि प्रतिनिधिसभा सदस्य बनेकी छन् । धादिङ–१ बाट ३९ हजार १ सय २८ मत प्राप्त गरेर उनी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।  

महोत्तरी–४ बाट ३० हजार १ सय ३२ मतसहित गौरी कुमारी विजय भएकी छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८ हजार ७ सय ४२ मत ल्याएका थिए । गौरीले विज्ञान विषयमा प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी छन् । रास्वपाकी पुष्पाकुमारी चौधरीले सप्तरी–१ बाट चुनाव जितिन् । उनले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो स्थानमा स्वाभिमान पार्टीका सुमितकुमार रहे, जसले ७ हजार ८ सय ४७ मत ल्याएका थिए । 

रास्वपाका तीन महिला उम्मेदवार विनिता कठायत (जुम्ला), गोमा तामाङ (सुनसरी–१) र टासी ल्हान्जोम (हुम्ला) पराजित भए । 

कांग्रेसकी बासना थापा दैलेख–१ बाट विजयी भइन् । उनले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरे । काठमाडौंमा जन्मिएकी बासना २०५७ देखि कांग्रेस निकट विद्यार्थी संगठनबाट राजनीतिमा होमिएकी हुन् । २०६१ मा कांग्रेसको क्रियाशील सदस्य बनेकी उनी कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । 

यसअघि २०७९ मा ९ र २०७४ मा ६ महिला प्रत्यक्षबाट निर्वाचित भएका थिए । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मा ३३ प्रतिशत महिला सहभागिता गराउनैपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले समानुपातिक प्रणालीबाट महिलाको प्रतिनिधित्व एकतिहाइ पुर्‍याउने गरिएको छ । ६ सय १ सदस्यीय संविधानसभामा २०६४ मा ३० र २०७० मा १० महिलाले चुनाव जितेका थिए । 

एमाले नेता बिन्दा पाण्डेले अहिलेको जितलाई महिला/पुरुषभन्दा पनि पार्टीको लहरले परिणाम ल्याएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘परिवर्तनको लहरमा जो उठेको छ, त्यसले जित्ने गर्छ, २०६४ मा पनि माओवादीबाट जित्ने महिला धेरै थिए ।’ पार्टीको लहरका कारण नचिनिएका व्यक्तिले पनि चुनाव चिह्नका आधारमा जित्ने गरेको उनको भनाइ छ । 

राजनीतिज्ञ सुचेता प्याकुरेल अहिलेको चुनावी परिणामलाई एक विद्रोहको संज्ञा दिन्छिन् । ‘विद्रोहपश्चात्को सुनामीको लहर यो चुनावमा आयो । त्यही लहरमा कतिपय महिला विजयी भए,’ उनी भन्छिन्, ‘तोसिमा, रन्जु जस्ता नेताले विद्रोहबाटै चुनाव जिते । तर नयाँ पार्टी रास्वपामा पनि पितृसत्तात्मक सोच हाबी छ ।’

 

Page 4
समाचार

किन हुन्छ नयाँ शक्तिको उदय?

बालेन चाहेका नेपाली मतदाताले अब आफ्नै छनौटको परिणाम हेर्नेछन् । त्यो परिणाम आशामुखी नयाँ अध्यायको शुरुवात हुनेछ अथवा निराशाको अर्को चक्र ? त्यो बालेनहरुकै कार्यशैलीले तय गर्नेछ ।
- कान्तिपुर संवाददाता,राजाराम गौतम

हामी नेपालीहरुको एउटा साझा चरित्र छ, हामी जति छिटो निरासिन्छौं, हामीलाई उत्साहित हुन पनि बेरै लाग्दैन । आमनिर्वाचन, २०८२ ले निराशा र असन्तुष्टीको जमिनबाट उठाएर ठूलो नागरिक पंक्तिलाई उत्साहित बनाएको छ । यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभूतपूर्व जीतसंगै यो पंक्तिमा आशा र अपेक्षा कति चाँडै हुर्किन थालेको छ भने, ती ‘रामराज्य’को स्वैरकल्पनामा मग्न हुन थालेका छन् । 

यतिबेला रास्वपा नेपाली समाजको ‘परिवर्तनको बाहक’ बनेको छ । मान्छेहरु भन्दैछन्, मतदाताले ‘परिवर्तन’का लागि ‘मौन मत क्रान्ति’ गरे । तर, यो मौन मत क्रान्ति हो कि हमेशा नायक खोजीबस्ने दुखी समाजको भावनात्मक आवेग ? अथवा यो नयाँहरुको पक्षमा उर्लेको परिवर्तनको लहर हो कि पुरानाहरुप्रतिको चरम विकर्षणको वेभ ? नवनायकहरुको महिमा मण्डनको होडबाजी चलिरहँदा सायद यी प्रश्न ग्राह्य नहोलान् । यद्यपि सत्य यही हो, रास्वपाको पक्षमा देखिएको अभूतपूर्व जनादेशले न्याय त्योबेला पाउने छ, जुनबेला यो पार्टीले नारामा होइन, कामबाटै परिवर्तनको मुद्दालाई आत्मसाथ गर्न सक्नेछ । 

निर्वाचनको अन्तिम नतिजा आउन अरु केही दिन लाग्ला । हालसम्मको मतगणना अनुसार, यो पार्टीको पक्षमा प्रस्ट र बलियो बहुमत आउने पक्का भएको छ । उस्तै पर्दा अन्तिम गणनासम्म पुग्दा दुई तिहाई मत प्राप्त गर्ने वा त्यसको नजिक पुग्ने सम्भावना पनि छ । अर्थात् ठूला र ऐतिहासिक पृष्ठभूमि भएका कांग्रेस र कम्युनिष्टहरुलाई पछार्दै रास्वपा सर्वाधिक शक्तिशाली दलका रुपमा उदाएको छ । 

नेपाली जनमत यो पार्टीको पक्षमा किन यसरी एकोहोरियो ? संगठन र पृष्ठभूमि भएका र ठूला भनिएका दलहरु चुनावी प्रतिस्पर्धामा किन पिधमै पुग्नेगरी खुम्चिए ? र, किन साढे तीन वर्षे उमेर भएको कलिलो पार्टी तिनको रोजाईमा पर्यो ? के अब शिशु रास्वपा जनताको आशा र अपेक्षामा खरो उत्रन सक्ला ? अब यो पार्टीसामु के–कस्ता चुनौती  र अवसर छन् ? वर्तमान राजनीतिक परिदृश्यमा रास्वपाको शक्तिशाली उपस्थितिले यस्ता थुप्रै प्रश्न जन्माएको छ । यो विश्लेषण यिनै प्रश्नमा केन्द्रित रहने छ । एकातिर रविले खडा गरेको रास्वपा जसमा उनको सांगठनिक वर्चश्व छ । अर्कोतिर बालेन क्रेजले अभूतपूर्व जीतको उन्मादी लहरमा छ, रास्वपा । यो अवस्थामा रवि–बालेन सम्बन्ध कस्तो रहिरहला भन्ने कुराले अरु धेरै पक्षहरुलाई प्रभावित पार्ने छ ।

नेपाली राजनीतिमा बैकल्पिक शक्तिको खोजी पहिलो पटक भएको होइन । यस्तो खोजी हरेक राजनीतिक परिवर्तनसंगै हुदै आएको छ । हरेक पटक राजनीतिक परिवर्तन हुँदा जनता उत्साहित हुने गरेका छन् । परिवर्तनहरुले आम जनताको जीवनमा आशा र अपेक्षा जगाउँछ पनि । जब ती अपेक्षा पुरा भएको अनुभूति हुदैन, तब असन्तोष र निराशाको जमिन बन्छ । त्यही जमिनमा नयाँ र बैकल्पिक राजनीतिक शक्तिहरुको खोजी शुरु हुन्छ । २००७ सालयताका राजनीतिक घटनाक्रम र परिवर्तनहरु यसका दृष्टान्त हुन् । २००७ सालपछि परिवर्तनको बाहकको रुपमा कांग्रेसको उदय भयो । २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भएपछि परिवर्तनको बाहकमा कांग्रेससंगै बामपन्थीहरु पनि देखिए । २०६३ को दोस्रो जनआन्दोलनपछि हिंसात्मक राजनीति हुँदै शान्तिपूर्ण संक्रमणबाट माओवादी उदायो । अहिले तिनै परिवर्तनकारी दलहरुको विकल्पमा रास्वपाको पक्षमा लहर आएको छ । 

रास्वपा २०७९ साल असारमा जन्मिएको पार्टी हो । जन्मेको ६ महिनामै आम निर्वाचनमा होमिएको यो पार्टी त्यतिबेलै पनि चौथो दलका रुपमा संसद्मा उदाएको थियो । अहिले रास्वपाले मारेको छलाङ त्यसैको विस्तारित रुप हो । मुख्यतः रास्वपा पुराना राजनीतिक दलहरुको अकर्मण्यता र अयोग्यताको उपज हो । 

२०४६ अथवा २०६३ सालका ठूल्ठूला राजनीतिक परिवर्तनपछि सत्ताको ‘ड्राइभिङ सिट’मा बसेका कांग्रेस–कम्युनिष्टहरुसंग आमजनताले मुख्यतः चारवटा अपेक्षा गरेका थिए । पहिलो, भ्रष्टाचार नियन्त्रण र सुशासन । दोस्रो, आर्थिक, शैक्षिक अनि भौतिक विकास । तेस्रो, सहज र सुलभ सेवाप्रवाह । चौथो, दलको आन्तरिक लोकतन्त्रसंगै यसको संस्थागत विकास । 

पटक–पटक सत्तासीन हुने अवसर पाउदा पनि कांग्रेस–कम्युनिष्टहरु यी अपेक्षामा अव्बल त परै जाओस्, पास समेत हुन सकेनन् । बरु, यिनले भ्रष्टाचार बढाए, योग्य र योग्यताभन्दा भागवन्डाको (कु) संस्कृति हुर्काए, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा होइन, गुटबन्दीलाई प्रश्रय दिए । सारमा, सत्ता र पदमुखी बन्दै जादा आमजनतामा कांग्रेस–कम्युनिष्टहरुले परिवर्तनको मुद्दा बोक्न नसकेको भाष्य बलियोगरी स्थापित भयो । ढिलै भए पनि हालैसालै कांग्रेसले विद्रोह गरेर नेतृत्व पुस्तान्तरणको अभ्यास थालेको थियो । तर, जनताले कांग्रेसको त्यो सुधारलाई बदलिएको भनेर पत्याएनन् । 

जब परिवर्तनकारी शक्तिहरु यथास्थितिमै रुमलिन्छन्, तब नयाँ शक्तिको उदय हुन्छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७० सालमै भनेका थिए ‘नेपाली समाज नयाँ चरणमा प्रवेश गरिसकेको छ । अव त्यसलाई नेतृत्व गरेर जान दलहरुले आफ्नो संगठन, नेतृत्व र कार्यशैलीलाई परिवर्तन गरेर लैजान सक्नुपर्छ । त्यो गर्न सकिएन भने नयाँ शक्तिको उदय हुन्छ ।’

भट्टराईले माओवादी त्यागेर ‘नयाँ शक्ति’ बनाउने प्रयत्न गरे । विवेकशील पार्टी, साझा पार्टी, विवेकशील–साझा पार्टी आदि विभिन्न नाममा अरुहरुले पनि नयाँ र बैकल्पिक शक्ति निर्माणको पहल गरेका थिए । रास्वपा तिनै प्रयत्नहरुको पछिल्लो कडी हो । यो पार्टी कुनै राजनीतिक संघर्ष अथवा आन्दोलनको जगमा उदाएको होइन । जनतामा पुराना दलहरुप्रति बढेको निराशा, आक्रोश र अविश्वास यसको मुख्य आधारशीला हो । त्यसमा कुनै बखतका चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको राजनीतिक महत्वाकांक्षा पनि मिसिएको छ । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा जब स्वतन्त्र प्रत्यासीहरु जस्तो कि, बालेन्द्र शाह, हर्क साम्पाङ लगायतले मेयरमा जित्न थाले, रविभित्र हुर्कदै गरेको राजनीतिक महत्वाकांक्षा अझ तीव्र भयो । उनले हतारमा पार्टी स्थापनाको घोषणा गरेर चुनावमा गए । उनले बुझेका थिए, ‘लोकप्रिय नयाँ अनुहार’ सहित राजनीतिमा जाँदा नयाँ शक्ति निर्माणका लागि आक्रोश र निराशाको जमिन पर्याप्त हुनसक्छ । धेरैले ‘अराजनीतिक लहड’ भनेर आलोचना गरे पनि रविले समाजमा व्याप्त निराशा र आक्रोश जगमा रास्वपा जन्माए । चुनावपछि यो पार्टी २१ सिट सहित संसदको चौथो ठूलो दल मात्रै भएन, गठबन्धन सत्ता राजनीतिको एउटा खेलाडी पनि भयो । 

रास्वपाको त्यो उदय आश्चर्यजनक र आशलाग्दो थियो । पार्टी स्थापनाको ६ महिनामै चुनावी राजनीतिमा यसले पाएको सफलताले आमजनता आकर्षित थिए । यो पार्टीका सांसदहरुले संसदमा खेलेको रचनात्मक भूमिकाले पनि आकर्षण बढाएको थियो । तर, यसले त्यो आकर्षण र उत्साहलाई धेरै दिन थेग्न सकेन । विवाद र प्रश्नको घेरामा पर्न थाल्यो । यसको मुख्य कारण रवि स्वयंको विवादास्पद छवि थियो । उनी कानूनी, सामाजिक, नैतिक, आर्थिक सबै हिसाबले प्रश्नको घेरामा परेका पात्र हुन् । अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता प्राप्त गर्ने कानुनी प्रक्रिया पुरा नगरेको भनेर उनको सांसद पद खारेज भयो । उनीमाथि राहदानी दुरुपयोग र सहकारीको रकम अपलचनको गम्भीर आरोप लागेको छ । जसको कानूनी निप्टारा लागिसकेको छैन । 

गठबन्धन सरकारहरुमा सहभागी हुन अधिक सत्तामोह देखाएका कारण पनि रास्वपा आलोचित भयो । पार्टीको छवि रविकै इर्दगिर्द सीमित भयो । पार्टीको एक मात्रै ‘फेस भ्यालु’ उनमै सम्पूर्ण रुपमा निर्भर थियो । पार्टीप्रति प्रतिवद्धभन्दा अवसरको खोजीमा आउने जाने क्रम चल्दा पुराना दलभन्दा भिन्न नरहेको सन्देश गयो । आन्तरिक लोकतन्त्र फरक ढंगले अभ्यास गर्ने बताइए पनि त्यो व्यावहारमा लागु हुन सकेन । आर्थिक अपारदर्शिताका प्रकरणहरु बाहिर आए । यस्ता अनेक कारणले छोटो समयमै ओरालो लाग्दै गरेको रास्वपा जेन–जी आन्दोलनको समय आइपुग्दा थप आलोचित भयो । खासगरी जेन–जी आन्दोलनका नाममा बढेको अराजकताको मौका छोपेर जब रविका समर्थकहरुले गैरकानूनी हिसाबले उनलाई जेलबाट निकाले, त्यसले थप विवादमा तान्यो । जेन–जीहरुले उनलाई ‘खलनायक’ कै रुपमा चित्रण गरे । जेन–जीहरुको चर्को आलोचना र बहिष्करणमा परेका रवि फेरि जेल फर्के ।  

त्यसपछि आयो, भयानक ‘ट्वीस्ट’ । जेन–जीहरुका नजरमा ‘खलनायक’ करार भएका रवि र जेन–जी आन्दोलनकारीहरुका ‘आइकन’ बालेन शाहवीच एकता भयो । नाटकीय रुपमा भएको यो एकताका विषयलाई लिएर अनेक अड्कल काटिएका छन् । यसमा दृश्य/अदृश्य कसको के भूमिका छ, अन्तर्य के हो ? समयक्रमसंगै प्रस्ट हुदै जाला । तथापि, यी दुईको एकताले खस्किदै गएको रास्वपाले नयाँ उर्जा पायो । आमरुपमा अत्यधिक लोकप्रिय बनेका बालेनले पार्टीको छत पाए भने रास्वपाले ‘बालेन कार्ड’ पायो । धेरैजसो विश्लेषकहरुको ठहर छ, रास्वपाको अभूतपर्व जीतका पछाडिको एउटा मुख्य कारण ‘बालेन कार्ड’ हो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि त्यसबाट युवापंक्ति मात्रै तरंगित भएन, धेरै मतदाता भएको मधेशमा ‘वेभ’ नै आयो । मतदाताहरुले रास्वपाभन्दा बढि बालेन र चुनाव चिन्ह घन्टीलाई चिने र त्यसैलाई रोजे । नतिजा, निकट केही दिनमै ३५ वर्षिय बालेन मुलुकको नयाँ प्रधानमन्त्री हुने भएका छन् । 

काठमाडौंको मेयरको पदावधि पुरा नहुदै राष्ट्रिय राजनीतिमा होमिएका बालेनको दुर्लभ प्रमोशन हुने भएको छ । विश्वका कतिपय देशमा मेयर हुदै प्रधानमन्त्री बनेका अनेक दृष्टान्त भेटिन्छन् । नेपालले यस्तो दृष्टान्त पहिलोपटक बनाउदै छ । उमेरका हिसाबले पनि उनी कान्छा जननिर्वाचित प्रधानमन्त्री हुने छन् । 

मुलुकको शासनसत्ताको बागडोर लिदै गरेका बालेन कस्ता प्रधानमन्त्री होलान् ? उनका चुनौती र अवसर के होलान् ? आमवृत्तमा अत्यधिक चासो छ । नेपाली समाजले बालेनलाई निकै कम चिनेको छ । युवापंक्तिले र्‍यापरका रुपमा चिन्छ । अरु धेरैले काठमाडौंको मेयरका रुपमा । काठमाडौंका मेयरका रुपमा बालेन कति सफल भए वा भएनन् ? यसको वस्तुनिष्ठ खोज र विश्लेषण खासै भएको छैन । एकथरि उनका शुभेच्छुकहरु उनले काठमाडौंको मुहार नै बदले भनेर प्रसंसा गरेर थाक्दैनन् । आलोचकहरु वीचैमा जिम्मेवारी छोडेर गएका ‘भगौडा’ भनी आलोचना गर्छन् । त्यस्तै, एकथरि उनलाई भ्रष्टाचारमा नमुछिएको स्वच्छ छविको मेयर भनेर चिन्छन् । तर, उनका कतिपय निर्णय र कामका सन्दर्भमा उजुरी परेपछि उनी अख्तियार पुगेर सफाई दिनुपरेका नजीर पनि भएकाले अर्कोथरि प्रश्न गर्छन् । आवेग र उत्तेजनामा आइहाल्ने बालेनमा काम गर्ने हुटहुटी चाहिं छ भन्ने आमवुझाई छ । उनी जोखिम लिन हिच्किचाउदैनन् । तर, महानगरकालीन काममा उनले सुशासनलाई संस्थागत सकेनन् भन्नेहरु पनि उत्तिकै छन् । काठमाडौंको मेयरको पदावधि पुरा नहुदै राष्ट्रिय राजनीतिमा होमिएका बालेनको दुर्लभ प्रमोशन हुने भएको छ । विश्वका कतिपय देशमा मेयर हुदै प्रधानमन्त्री बनेका अनेक दृष्टान्त भेटिन्छन् । नेपालले यस्तो दृष्टान्त पहिलोपटक बनाउदै छ । उमेरका हिसाबले पनि उनी कान्छा जननिर्वाचित प्रधानमन्त्री हुने छन् ।

यो पृष्ठभूमिमा बालेन मुलुककै सुशासनको नयाँ आशा बनेर उदाएका छन् । पूर्वप्रधानमन्त्री केपी ओलीलाई उनकै गृहजिल्लाबाट भारी मतान्तरले पराजित गर्दै बालेन जनअनुमोदित भएका छन् । उनको क्रेज आम नेपाली वृत्तमा यतिबेला चुलीमा पुगेको छ । लोकप्रियताको शिखर चढ्दै गरेका बालेनसामु चुनौतीका पहाड पनि छन् । चुनौतीको पहिलो खुट्किलो पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र त्यसको व्यवस्थापनलाई लिएर हुनेछ । एकातिर रविले खडा गरेको रास्वपा जसमा उनको सांगठनिक वर्चश्व छ । अर्कोतिर बालेन क्रेजले अभूतपूर्व जीतको उन्मादी लहरमा छ, रास्वपा । यो अवस्थामा रवि–बालेन सम्बन्ध कस्तो रहिरहला भन्ने कुराले अरु धेरै पक्षहरुलाई प्रभावित पार्ने छ । हुन त रविले पार्टीको नेतृत्व आफूले गर्ने र सरकारको नेतृत्व बालेनले गर्ने प्रस्ट भनेका छन् । तर, सरकारको निर्णयमा पार्टीलाई विश्वासमा राख्नेदेखि नयाँ सांसदहरुको व्यवस्थापन लगायतका रणनीतिक विषयहरुमा आपसी समझदारी र सहकार्य चुनौतीपूर्ण हुने छ । 

आम चासो बालेनको व्यक्तित्वलाई लिएर पनि छ । जस्तो कि, रोड शोहरुमा देखिएका बालेन, सामाजिक सञ्जालमा बेलाबखत तरंग ल्याउने स्टाटसहरु पोस्ट गर्ने बालेन रहस्यमयी लाग्छन् । निकै कम संवाद गर्न रुचाउछन् । के नेपाली समाजले अहिले चिनेका बालेन र प्रधानमन्त्रीको कुर्शीमा बस्ने बालेनको प्रस्तुती र कार्यशैली भिन्न होला ? के उनी प्रधानमन्त्री भएपछि पनि अहिले जत्तिकै रहस्यमयी पात्र भइरहलान् ? उनी जे भूमिकामा जाँदैछन्, त्यहा अनेकथरि नियमित राजनीतिक/कुटनीतिक संवाद गर्नुपर्ने हुन्छ । मेयर रहँदा उनले भुराजनीति र कुटनीतिक संवेदनशीलताको ख्यालै नगरी अपरिपक्व ‘स्टन्ट’हरु गरेको मान्छेहरुले विर्सेका छैनन् । प्रधानमन्त्रीको कुर्शीबाट उनले कुटनीति र भुराजनीतिक मुद्दाहरुलाई कसरी ‘डिल’ गर्लान् ? त्यो पनि आम चासो र चिन्ताको विषय बनेको छ । सारमा संस्थापन विरुद्धको आक्रोशको प्रतीक बनेका बालेन भारी जनअनुमोदनपछि स्वयं संस्थापन बनेका छन् । उनीसंग जति चुनौती छन्, इतिहासले दुर्लभ अवसर पनि त्यत्तिकै दिएको छ । 

विसौं शताव्दीका एक अमेरिकी पत्रकार हेनरी लुइस मेन्केनले भनेका थिए, ‘लोकतन्त्रमा जनता जे चाहान्छन्, त्यही पाउँछन् । र, त्यसको परिणाम पनि आफैले भोग्छन् ।’ बालेन चाहेका नेपाली मतदाताले अब आफ्नै छनौटको परिणाम हेर्नेछन् । त्यो फरिणाम आशामुखी नयाँ अध्यायको शुरुवात हुनेछ अथवा निराशाको अर्को चक्र ? त्यो बालेनहरुकै कार्यशैलीले तय गर्नेछ । @Rajaramgautam

सम्पादकीय

सिंहदरबारभित्रकै ठेक्काले गिज्याइरहेको समग्र प्रणाली

- कान्तिपुर संवाददाता

निर्वाचन परिणाम आउँदै गर्दा जनताको ठूलो पंक्ति उत्साहित छन् । नवनिर्वाचित सांसद पनि संसद् बैठकमा सहभागी भएर आफ्ना एजेन्डा राख्ने हुटहुटीमा होलान् ।

निर्वाचन परिणामको उथलपुथलबाट नेपाली जनता आफ्नो आकांक्षा र सपना पूरा गर्नका लागि तीव्र गतिमा अघि बढ्न चाहिरहेको पुष्टि हुन्छ । यद्यपि, हाम्रा कार्यशैली र प्रणाली त्यसअनुरूपको छैन ।

त्यसलाई पुष्टि गर्ने सशक्त सन्दर्भ हो– नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइ । २०७९ को आमनिर्वाचनपछि गठन हुने संसद्को बैठकका लागि नै तयार गर्ने गरी नयाँ संसद् भवनको निर्माण प्रक्रिया अघि बढेको थियो ।

तीन वर्षपछिको अर्को नयाँ निर्वाचनबाट गठन हुने संसद्को बैठक बस्ने दिन नजिकिँदै गर्दासमेत भवन तयार हुने वा नहुने निश्चित छैन । तयार हुँदा पनि अपूर्ण हुने निश्चित जस्तै छ । त्यसैले आगामी सरकारले निर्माण प्रक्रियामा हुने ढिलासुस्ती अन्त्य गर्नका लागि प्रभावकारी र व्यावहारिक कानुन र प्रणाली निर्माणका लागि कसरत गर्न जरुरी छ ।

सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ । नयाँ भवन पाँच तलासम्मका छन् । त्यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय र संग्रहालय तयार गरिँदै छ । यसका लागि १६ असोज २०७६ मा ठेक्का सम्झौता भएको थियो ।

५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा बनाइसक्ने गरी निर्माणको ठेक्का तुन्दी–सेक जेभीले लिएको हो । उक्त सम्झौताअनुसार, १६ असोज २०७९ भित्रै संसद् भवन निर्माण गरिसक्नुपर्ने थियो । तर, त्यसपछि पनि पाँचौं पटक म्याद थपिइसकेको छ । काम भने पूरा हुन सकेको छैन । पहिलो पटक ३० चैत २०७९, दोस्रो पटक १९ असोज २०८०, तेस्रो पटक १९ चैत २०८०, चौथो पटक १८ चैत २०८१ र पाँचौं पटक १६ पुस २०८२ मा म्याद थपिएको थियो । तर पाँचौं पटक थपिएको म्यादमा पनि काम नसकिने भएपछि पुनः थोरै अवधिका लागि थप्ने तयारी हुँदै छ ।

निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले ३० दिनभित्र अधिवेशन आह्वान गरी बैठक बस्नुपर्ने कानुनी प्रबन्ध छ । अघिल्लो पटक ४ मंसिर २०७९ मा प्रतिनिधिसभाको निर्वाचन भएपछि २९ मंसिरमा अन्तिम मतपरिणाम राष्ट्रपतिकहाँ बुझाइएको थियो । त्यसपछि ७ पुसमा सांसदहरूले शपथ लिएका थिए, २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो ।

मतदानको एक महिनापछि शपथ र ५० दिनपछि पहिलो बैठक बस्ने अघिल्लो अनुभवबाट देखिन्छ । यस पटक त्यति नै समय लाग्न पनि सक्छ, नलाग्न पनि । यद्यपि, सांसदको शपथका लागि अब एक महिनाभित्रमा भवन तयार हुनुपर्ने भने सामान्य ढंगले आकलन गर्न सकिन्छ । नयाँ भवन भएकाले त्यसमा संसद् सचिवालयका तर्फबाट गर्ने व्यवस्थापनका लागि पनि झन्डै दस दिन जति लाग्छ । त्यसैले कम मात्रै समय उपलब्ध छ । यसका लागि अतिरिक्त मिहिनेत आवश्यक छ । संसद् भवन तयार नभएरै अन्तिम नतिजा प्रकाशित गर्ने समयलाई पछि सार्नुपर्ने वा शपथको समय धकेल्नुपर्ने स्थिति आयो भने राज्यकै निरीहता झल्किन्छ ।

संसद् भवनको निर्माणका लागि सरोकारवाला मन्त्रालय सहरी विकास मन्त्रालयको पनि कमजोरी देखियो । आफू मातहतको निकायबाट भइरहेको काममा न्यून प्रगति देखिँदा पनि उसले कुनै ठोस कदम चालेन ।

सुस्त प्रगति हुँदै गर्दा उसले निगरानी गर्नुपर्थ्यो । दबाब दिनुपर्थ्यो । कुनै कानुनी वा प्रक्रियागत समस्या भएमा फुकाइदिएर सहजीकरण गरिदिनुपर्थ्यो । त्यस्तो हुन नसकेकैले नयाँ ऊर्जासहित आउँदै गरेका नयाँ सांसदहरूले शपथ लिने ठाउँसमेत पाउने वा नपाउने हो भन्ने अन्योल छ ।

किनकि, संघीय संसद् सचिवालयसमेत खासै सकारात्मक र उत्साहित हुन सकेको छैन । तत्काल भवन तयार हुनेमा ढुक्न हुन पनि नसकिने र अन्यत्र शपथ वा बैठक राख्नका लागि सुरक्षा तथा व्यवस्थापनका दृष्टिले पनि कठिनाइलाई उसले अनुभूत गरेको छ ।

निर्माणाधीन संसद् भवनले एकातिर जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको गरिमाको विषयलाई कमजोर बनाउँछ । अर्कोतर्फ, कुनै पनि भवन वा आयोजना निर्माणका लागि हुने हेलचेक््रयाइँ, समय छँदा काम नगर्ने प्रवृत्ति र अन्तिममा हतारोमा काम सक्नुपर्ने दबाबमा गुणस्तरमा हुन सक्ने कमजोरी सबै पक्षमा सोच्न बाध्य बनाउँछ । सिंहदरबारभित्रको संसद् भवन निर्माणको गति र यसको प्राथमिकताकै यो अवस्था छ भने दूरदराजमा सञ्चालन भएका आयोजनाको कुन स्थिति होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैले भन्न सकिन्छ, संसद् भवन निर्माणमा निम्तिएको ढिलासुस्ती बेथितिको नमुना हो । जिम्मा लिने निकायले समयमै काम गरे पनि हुने, नगरे पनि हुने स्थितिको अन्त्य हुनुपर्छ । यसका लागि कहाँ–कहाँ कसरी सुधार गर्न सकिन्छ र गर्नुपर्ने हो, त्यसमा नयाँ सरकारले प्राथमिकता दिनुपर्छ ।

दृष्टिकोण

धन्यवाद, 'म्याडम प्राइममिनिस्टर'

- कान्तिपुर संवाददाता,कुसुम थापा

न्तर्राष्ट्रिय महिला दिवस नजिकिँदै गर्दा नेपालले लोकतन्त्रको एउटा गहिरो क्षण पार गरेको छ । यस पटकको प्रतिनिधिसभा निर्वाचन केवल अर्को चुनाव मात्र थिएन, संकट, असन्तोष र राजनीतिक संक्रमणबाट लोकतन्त्रलाई पुनः जनताको हातमा फर्काउने राष्ट्रिय प्रयास थियो ।

यस ऐतिहासिक क्षणको केन्द्रमा एउटा असामान्य तर प्रेरणादायी तथ्य थियो— देशको नेतृत्व एक महिलाले सम्हालिरहेकी थिइन् ।

युवाहरूको आन्दोलन, राजनीतिक अविश्वास र संस्थागत संकटको बीचमा नेपालले अन्तरिम सरकारका रूपमा सुशीला कार्कीको नेतृत्व पायो । पूर्वप्रधानन्यायाधीशका रूपमा उनी न्यायिक स्वतन्त्रता र नैतिक साहसका लागि परिचित थिइन् । तर प्रधानमन्त्रीका रूपमा संकटग्रस्त राजनीतिक वातावरणलाई स्थिर बनाउनु, राज्य संयन्त्रलाई व्यवस्थित राख्नु र देशलाई निष्पक्ष निर्वाचनसम्म पुर्‍याउनु उनको जिम्मेवारी अझ चुनौतीपूर्ण थियो ।

राजनीतिक ध्रुवीकरण, आन्दोलन र असन्तोषका बीच देशलाई चुनावसम्म पुर्‍याउनु कुनै सामान्य प्रशासनिक काम थिएन । यो नेतृत्व, धैर्य र संस्थागत विश्वासको परीक्षा थियो । यही नेतृत्वमा नेपालले बिहीबार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्‍यो ।

यस निर्वाचनमा १८,९०३,६८९ मतदाता दर्ता भएका थिए, जसमध्ये ९,६६३,३५८ पुरुष र ९,२४०,१३१ महिला मतदाता थिए । यस तथ्यले लोकतन्त्रमा महिलाहरू केवल सहभागी मात्र होइनन्, उनीहरू लगभग बराबर संख्यामा राजनीतिक प्रक्रियाका सक्रिय नागरिक हुन् भन्ने महत्त्वपूर्ण संकेत पनि गर्छ ।

यसै निर्वाचनमा प्रत्यक्ष प्रणालीअन्तर्गत ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमा करिब ३८८ मात्र महिला थिए— झन्डै ११ प्रतिशत । तर समानुपातिक प्रणालीतर्फ भने ३,१३५ उम्मेदवारमध्ये १,७७२ महिला र १,३६३ पुरुष थिए । यसले देखाउँछ कि, जनसंख्याको आधाभन्दा बढी हिस्सा महिला भए पनि प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा महिलाको राजनीतिक सहभागिता अझै पनि धेरै हदसम्म समानुपातिक प्रतिनिधित्वमा सीमित छ, तर उनीहरू क्रमशः प्रत्यक्ष प्रतिस्पर्धामा पनि अघि बढिरहेका छन् ।

संकटको समयमा सरकार चलाउँदै लोकतन्त्रलाई चुनावसम्म पुर्‍याउनु कुनै सामान्य प्रशासनिक काम थिएन । त्यो त नेतृत्व, धैर्य र संस्थागत विश्वासको परीक्षा थियो । तर लोकतन्त्रको त्यो दिन केवल प्रधानमन्त्रीको नेतृत्वमा वा उम्मेदवारहरूको प्रतिस्पर्धाले मात्र बनेको थिएन । देशभर हजारौं मतदाता, मतदान केन्द्रमा काम गर्ने कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरू थिए, जसमा धेरै महिलाहरू पनि थिए ।

बाँकेको नेपालगन्जस्थित हडिया बाबा मतदान केन्द्रमा मतदान अधिकृत अमृता केसीले आफ्नो ६ महिनाकी छोरी काखमा राखेर मतदान प्रक्रिया सञ्चालन गरिन् । लोकतन्त्रको त्यो दृश्य केवल प्रशासनिक कर्तव्य मात्र थिएन । त्यो मातृत्व र नागरिक जिम्मेवारीको अद्भुत संगम थियो । अर्कोतर्फ, रोल्पाको थवाङमा हिँड्न नसक्ने एक वृद्ध आमाले घिस्रिँदै मतदान केन्द्र पुगेर मत हालिन् ।

शरीरले साथ नदिए पनि उनले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरिन् । यी केही उदाहरणबाहेक पनि मतदान केन्द्रदेखि मतगणना केन्द्रसम्म लोकतन्त्रलाई व्यवहारमा उतार्ने ती अदृश्य महिला पनि सोही इतिहासका पात्र हुन् ।

यसैबीच केही प्रेरणादायी कथाहरू पनि जन्मिएका छन् । गर्भवती अवस्थामै चुनावी मैदानमा उभिएकी रन्जु दर्शनाको अभियान त्यसको उदाहरण हो । चुनावी बहसमा उनको नीति र दृष्टिकोणभन्दा पहिले धेरैले उनको मातृत्वबारे प्रश्न उठाए— राजनीति गर्ने कि बच्चा जन्माउने ? तर उनले त्यही परिस्थितिमा चुनाव जितिन् । त्यो जित केवल व्यक्तिगत उपलब्धि होइन, महिलाको सार्वजनिक भूमिकामाथि राखिएको शंकामाथिको उत्तर पनि हो ।

यस्तै, रेणु दाहाल जस्ती पूर्वनिर्वाचित मेयरलाई अझै पनि धेरैजसो ‘प्रचण्डकी छोरी’ भनेर चिनाइन्छ । उनको आफ्नै नेतृत्व, प्रशासनिक अनुभव र कार्यसम्पादनभन्दा पारिवारिक सम्बन्धलाई प्राथमिकता दिने यो प्रवृत्तिले नेपाली राजनीतिक संस्कृतिको गहिरो समस्या देखाउँछ ।

त्यस्तै पूर्वसांसद तथा युवा नेता सोबिता गौतम र पूर्वमन्त्री तोसिमा कार्कीले पनि सामाजिक सञ्जालमा बारम्बार व्यक्तिगत टिप्पणीको सामना गर्नुपरेको छ— जसमा नीतिगत बहसभन्दा बाहिर व्यक्तिगत जीवनमाथि प्रश्न उठाइन्छ ।

अभिनेत्री तथा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमा लेखेको एउटा टिप्पणीले यो समस्या झन् स्पष्ट बनाउँछ । उनले लेखेकी छन्— जब महिलाले नेतृत्व लिन खोज्छिन्, समाजले उनको नीति होइन, पहिले उनको निजी जीवन छानबिन गर्छ । घृणा कहिलेकाहीं लुकेर होइन, खुलेआम सामान्यीकृत भएर फैलिन्छ ।

हालैका केही उदाहरणहरूले यो प्रवृत्ति अझै स्पष्ट पारेका छन् । एक उम्मेदवारले सार्वजनिक अन्तर्वार्तामा एक युवा महिला नेतालाई राजनीति गर्न नबनेकी भन्दै ‘राजनीतिभन्दा बरु काला–काला, ह्यान्डसम केटा खोजेर बिहे गरेर बस्दा राम्रो’ भन्दै सुझाव दिँदै थिए, अर्को सामाजिक सञ्जाल पोस्टमा गर्भवती नेतालाई ‘सांसद बन्ने लोभ’ ले आफ्नै बच्चाभन्दा पदलाई प्राथमिकता दिएको भनेर आलोचना गरियो ।

यी टिप्पणीहरू संयोग होइनन् । यिनले महिलालाई राजनीतिक व्यक्तित्वभन्दा बढी निजी सम्बन्ध र जैविक भूमिकाको दायराभित्र सीमित गर्ने समाजको सोचलाई उजागर गर्छन् ।

समाजशास्त्रीय रूपमा हेर्दा यो समस्या पितृसत्तात्मक शक्ति संरचनासँग जोडिएको छ । नेपालको राजनीतिक सत्ता, निर्णय प्रक्रिया र पार्टी संरचना लामो समयदेखि पुरुषहरूको नियन्त्रणमा रहँदै आएको छ । यसरी हेर्दा महिलालाई सार्वजनिक नेतृत्वभन्दा घर, परिवार र मातृत्वभित्र सीमित देख्ने गरिएको छ । जब महिलाहरू यस संरचनालाई चुनौती दिँदै राजनीतिमा प्रवेश गर्छन्, उनीहरू केवल उम्मेदवार मात्र होइनन्, सामाजिक भूमिकाको पुनर्परिभाषा गर्ने पात्र पनि बन्छन् ।

यही कारण उनीहरूलाई हुने आलोचना पनि फरक हुन्छ । जब महिलाको क्षमता होइन, उनको शरीर, विवाह वा मातृत्व राजनीतिक बहसको विषय बनाइन्छ, त्यो आलोचना होइन— सार्वजनिक सहभागितामाथिको अवरोध बन्छ । यस्तो अवस्थामा महिलाको राजनीतिक यात्रा दोहोरो संघर्ष बन्छ । एकातिर उनीहरूले चुनाव जित्न प्रतिस्पर्धीसँग लड्नुपर्छ, अर्कोतिर समाजसँग ‘महिला भएर राजनीति गर्नु जायज हो भन्ने प्रमाणित गरी रहनुपर्छ ।

त्यसैले आजको चुनावी बहसलाई केवल कसले जित्यो भन्नेमा सीमित राख्नु पर्याप्त हुँदैन । हामी महिलालाई राजनीतिक नागरिकका रूपमा स्वीकार गर्न तयार छौं कि छैनौं भन्ने प्रश्न राजनीतिक संस्कारको बहस पनि हो ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा नेपाली लोकतन्त्रलाई हेर्दा एउटा प्रतीकात्मक वाक्य भन्न मन लाग्छ— धन्यवाद, ‘प्राइममिनिस्टर ।’

यो धन्यवाद केवल सम्माननीय सुशीला कार्कीलाई मात्र होइन । संकटको समयमा देशलाई स्थिर राख्दै लोकतन्त्रलाई निर्वाचनसम्म पुर्‍याउने नेतृत्वका लागि हो । यो धन्यवाद निर्वाचनमा दर्ता भएका ९,२४०,१३१ महिला मतदाताहरूलाई हो । यो धन्यवाद चुनावी मैदानमा उभिएका ती ३८८ महिला उम्मेदवारहरूलाई हो ।

यो धन्यवाद १,७७२ समानुपातिक महिला उम्मेदवारहरूलाई हो । यो धन्यवाद मतदान केन्द्रमा काम गर्ने हजारौं महिला कर्मचारीहरूलाई हो । र, यो धन्यवाद राजनीति, प्रशासन र नागरिक समाजमा निरन्तर संघर्ष गरिरहेका प्रत्येक महिलालाई हो । किनकि उनीहरू केवल आजका प्रतिनिधि होइनन् । उनीहरू भविष्यका संकेत हुन्— त्यो भविष्य, जहाँ नेपाली राजनीतिमा महिला हुनु समाचार होइन, सामान्य वास्तविकता हुनेछ ।

Page 5
दृष्टिकोण

भ्रष्टाचारले बढाएको सडक दुर्घटना

- कान्तिपुर संवाददाता,दिपेश घिमिरे

गत फागुन १० गते पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट, रोराङ गाउँपालिका भैंसीगौंडामा दुर्घटना हुँदा १९ जनाको ज्यान गयो । त्यो केवल अपवादमूलक घटना थिएन । त्यो घटनाको ठीक १३ दिनअघि अर्थात् माघ २७ गते रामेछापमा भएको गाडी दुर्घटनामा १२ जनाको ज्यान गएको थियो ।

त्यसको पाँच दिनअघि अर्थात् २२ माघमा बैतडीमा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

एक महिनाबीचका तीन दुर्घटनामा ज्यान गुमाउनेको संख्या हेर्दा डरलाग्दो तस्बिर सामुन्ने आउँछ । नेपालमा सडक दुर्घटना दिनदिनै बढ्दै गइरहेका छन् । नेपाल प्रहरीको एक तथ्यांकअनुसार, नेपालमा दैनिक औसत ९७ वटा सडक दुर्घटना हुने गरेका छन् भने औसतमा दुर्घटनाकै कारण दैनिक सात जनाको मृत्यु हुने गरेको छ ।

पछिल्लो १२ वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ हजारभन्दा बढी छ (हेर्नुहोस् तालिका) ।

तालिकाले देखाउँछ– सडक दुर्घटना नेपालमा सबैभन्दा गम्भीर स्वास्थ्य संकट बनिसकेको छ । सवारी दुर्घटनाका कारणहरूबारे विभिन्न निकायले अध्ययन पनि गरेका छन् । ट्राफिक व्यवस्थापन महाशाखाले २०७६ मा गरेको एक अध्ययनअनुसार, सडक दुर्घटनाको सबैभन्दा ठूलो कारण चालकको लापरबाही (४३.७ प्रतिशत) रहेको देखाएको थियो ।

यसैगरी सवारीको अति तीव्र गतिका कारण १८.७, ओभरटेकिङका कारण ९.८, पैदलयात्रुको लापरबाहीले ९.५, मादक पदार्थ सेवन गरी सवारी चलाएर ६.२, सवारीको यान्त्रिक गडबडीले ६.१, ओभरलोडले ५.२, सडक चौपायाका कारण ०.४ र अन्य कारण ०.४ प्रतिशत रहेको देखाएको थियो । यसैगरी प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले २०७७ सालमा गठन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति’ को अध्ययनले सवारीसाधनको यान्त्रिक समस्या, सडकको अवस्था, सवारी चालकको समस्या, कानुन कार्यान्वयनमा भएका समस्याले सवारी दुर्घटना बढिरहेको देखाएको थियो ।

अध्ययनले देखाएका यस्ता कारणले मात्रै सडक दुर्घटनाको ‘समग्र कारण’ समेट्न सकेको देखिँदैन । मिहिन रूपमा अध्ययन गर्ने हो भने सडक दुर्घटनाको जरो सडक व्यवस्थापन तथा नियमनकारी निकायहरूमा मौलाएको संरचनागत भ्रष्टाचारसँग पनि गहिरो रूपमा जोडिएको छ । तर, विडम्बना सडक दुर्घटनाको कारणको अध्ययन गर्दा ‘भ्रष्टाचार’ को सम्बन्धलाई समेट्ने गरिएको छैन ।

सवारी चालक अनुमतिपत्र : दक्षता होइन, पैसाको खेल

सडक सुरक्षाको पहिलो सर्त हो– दक्ष, अनुशासित र जिम्मेवार चालक । तर, नेपालमा चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणाली लामो समयदेखि भ्रष्टाचारको जञ्जालमा जेलिएको छ ।

कागजमा लिखित परीक्षा, ट्रायल परीक्षण र बायोमेट्रिक प्रक्रिया जति नै कडा देखिए पनि व्यवहारमा ‘सेटिङ’, दलालको सञ्जाल र आर्थिक लेनदेन व्यापक छ । ट्रायल सेन्टरभित्र र बाहिर खुला रूपमा उपस्थित दलालले असफल भएका परिक्षार्थीलाई पैसा लिएर लाइसेन्स ‘मिलाइदिने’ परिपाटी व्यापक छ ।

यो समस्या केवल अनियमिततामा मात्रै सीमित छैन । यसले सडक सुरक्षाको मेरुदण्डमै प्रहार गरिरहेको छ । ट्राफिक संकेत, प्राथमिकता नियम, ओभरटेक गर्ने विधि, आकस्मिक ब्रेक नियन्त्रण, जोखिम पूर्वानुमान जस्ता आधारभूत सीप राम्ररी नजानेका व्यक्तिलाई केही पैसाको लोभमा सवारी चालक अनुमतिपत्र दिएपछि दुर्घटना अनिवार्य जस्तै बन्न पुग्छ । लाइसेन्स प्रक्रियामा भएको भ्रष्टाचार प्रत्यक्ष रूपमा दुर्घटना र मृत्युसँग जोडिएको छ ।

चालक अनुमतिपत्र वितरण प्रक्रिया, ट्रायल परीक्षा आदिमा घूसको लेनदेन व्यापक छ । एकपछि अर्को लाइसेन्स नक्कली फेला परेपछि त्यस्ता लाइसेन्सको छानबिन गर्न २०८० मंसिर २१ मा यातायात व्यवस्था विभागका निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा विभाग आफैंले एक छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले किर्ते गरी बनाइएका लाइसेन्सबारे अध्ययन गर्दा २०७२ मंसिरदेखि २०८० सम्म जारी भएकामध्ये १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स नक्कली (फर्जी) भेटिएका थिए । ट्रायल फेल भएका, ट्रायल प्रक्रियामा उपस्थितै नभएका व्यक्तिले समेत घूस खुवाएर लाइसेन्स लिएको उक्त अध्ययनले देखाएको थियो । यसक्रममा एकातर्फ १० अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको थियो भने अर्कोतर्फ ड्राइभिङको आधारभूत सीप नै नभएका व्यक्तिको हातमा लाइसेन्स पुगेको थियो ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं. २०७५ मा देशभरका ३४०० सेवाग्राहीमाझ गरेको एक सर्वेक्षणले ३९ प्रतिशत सेवाग्राही उत्तरदाताले यातायात कार्यालयमा काम गराउन बिचौलिया वा कर्मचारीलाई घूस दिनुपर्ने जवाफ दिएका थिए । अझ अख्तियारले यातायात व्यवस्था कार्यालयमा भएका भ्रष्टाचारबारे अनुसन्धान गरी मुद्दा दायर गरेका धेरै घटना छन् ।

यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका ३ जना उपसचिवसहित ३८ जनाविरुद्ध २०७६ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यहाँ १२ सय ८४ जनाको सवारी चालक अनुमतिपत्रको परीक्षा नतिजा फेरबदल गरेको अख्तियारको आरोप थियो । यसैगरी अख्तियारले २०८२ माघ १३ गते यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित १७ जना कर्मचारी र ट्राफिक प्रहरीको २५ थान मोबाइल जफत गरी छानबिन गरेको थियो । चाबहिलका कर्मचारी तथा प्रहरीहरूको मिलेमतोमा ५ देखि १० हजार रुपैयाँ घूस लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएकालाई पास गराउने गरेको पाइएपछि अख्तियारले उनीहरूको मोबाइल जफत गरेको थियो ।

यातायात कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरको सेटिङमा घूस लिएर साढे पाँच हजार लाइसेन्स जारी गरेको अभियोगमा अख्तियारले लुम्बिनी प्रदेशका कानुन सचिवसहित ४४ जनाविरुद्ध यही फागुन १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले एक वर्षअघि चार जनालाई नियन्त्रणमा लिएर थालेको अनुसन्धानले नेपालगन्ज यातायात कार्यालयमा संगठित रूपमै सेटिङमा घूस लिएर सवारी चालक अनुमतिपत्र वितरण गर्ने गरेको फेला पारेको छ ।

अख्तियारका अनुसार, गिरोहले लाइसेन्सको वर्गअनुसार घूसको रेट तोकेर अनियमितता गरेका थिए । त्यसमा ट्रक/बस/लरीको २४ हजार, डोजर/रोलर/क्रेन/एक्स्काभेटर तथा मिनिबस/मिनिट्रकको २२ हजार र कार/जिप/भ्यानको १७ हजार घूस लिने गरेका थिए । यसैगरी टेम्पो/अटोरिक्सा र मोटरसाइकलको १२ हजार तथा स्कुटरको १० हजार रहेको अख्तियारको आरोपपत्रमा छ । यातायात कार्यालयले २७ हजार ७ सय ७३ लाइसेन्स जारी गरेकामा परीक्षामा सहभागी २० प्रतिशत परीक्षार्थीलाई घूस लिएर उत्तीर्ण गराएको अख्तियारको दाबी छ ।

उनीहरूलाई लाइसेन्स दिलाउँदा ८ करोड ४ लाख ३४ हजार ३ सय रुपैयाँ संकलन गरेको अख्तियारले भेटेको थियो । यसैगरी पछिल्लो पाँच वर्षमा यातायात कार्यालयका कर्मचारीहरूले सेवाग्राहीबाट घूस लिँदै गर्दा ५० जनाभन्दा बढी कर्मचारीलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ ।
यता ट्रान्सपरेन्सी इन्टरनेसनलका विभिन्न अध्ययनले नेपालको सार्वजनिक यातायातमा रहेको सिन्डिकेटलाई राजनीतिक संरक्षण प्राप्त भ्रष्टाचारको एक स्वरूपको रूपमा उल्लेख गरेका छन् । यसैगरी राष्ट्रिय सतर्कता केन्द्रको एक अध्ययनले यातायात कार्यालयमा दैनिक लाखौं रुपैयाँको गैरकानुनी लेनदेन हुने गरेको देखाएको थियो ।

सडक दुर्घटनाको ठूलो हिस्सा ‘मानव त्रुटि’ सँग जोडिएको बताइन्छ । तर, त्यो त्रुटि व्यक्तिगत मात्रै नभई प्रणालीगत कमजोरी हो । यदि राज्य स्वयं सवारी चालकको दक्षताको कठोर मापदण्ड लागू गर्न असफल हुन्छ भने दुर्घटनाको जिम्मेवारी केवल चालक नभई राज्य स्वयं हुन्छ । चालकको त्रुटिभन्दा पहिले लाइसेन्स वितरण गर्ने संरचनामा विद्यमान त्रुटि र त्यहाँ व्याप्त भ्रष्टाचार दुर्घटनाको प्रमुख कारण हो ।

सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियामा विद्यमान भ्रष्टाचारले अदक्ष र ट्राफिक नियमको सामान्य ज्ञान नभएका व्यक्तिको हातमा सवारीसाधनको स्टेयरिङ पुगेको छ । यातायात कार्यालयका कर्मचारी र बिचौलियाको खल्ती भरिँदा प्रत्येक वर्ष हजारौं परिवारले आफ्नो सहारा गुमाइरहेका छन्, काख रित्तिइरहेको छ ।

कागजमै सीमित छ, सडक निर्माण मापदण्ड

विश्व बैंकले प्रकाशित गरेको ‘द मेनी फेसेस अफ करप्सन’ प्रतिवेदनअनुसार, विकासोन्मुख देशका सडक आयोजनाहरूमा डिजाइन परिवर्तन, लागत अनुमान वृद्धि र निर्माण सामग्रीको गुणस्तरमा सम्झौता गरी ३० प्रतिशतसम्म बजेट भ्रष्टाचार हुने गरेको छ । यसबाट सडक कमजोर गुणस्तरको निर्माण हुने र त्यसले सडक दुर्घटनालाई योगदान गरिरहेको छ ।

सडक निर्माण र गुणस्तर सुनिश्चितता गर्ने निकाय सडक विभागमा झाँगिएको भ्रष्टाचारले पनि सडक दुर्घटना बढाइरहेको छ । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा कुनै प्राविधिक तथा इन्जिनियरिङ मापदण्ड नै पूरा नगरीकन स्थानीय टाठाबाठाको लहड र दबाबमा सडक खनिएका छन् ।

वि.सं. २०७७ को एक तथ्यांकअनुसार, नेपालमा ८० हजार किलोमिटर सडक निर्माण भएकामा ४२ हजार किलोमिटर सडक गाडी चलाउन पूर्णतः अयोग्य छ । देशभरका १७ प्रतिशत सडक मात्रै गाडी चलाउन योग्य छ । सवारीसाधन सञ्चालन गर्न अनुपयुक्त सडकमा घूस लेनदेन गरी बस तथा मिनिबसहरू निर्बाध रूपमा सञ्चालन अनुमति दिने गरिएको छ ।

विशेषगरी ठेक्का प्रक्रियामा देखिने अस्वस्थ प्रतिस्पर्धा सडक गुणस्तरको सबैभन्दा ठूलो समस्या छ । न्यूनतम लागतमा काम गर्ने नाममा अस्वाभाविक रूपमा कम दरमा ठेक्का लिने र पछि गुणस्तरमा सम्झौता गरेर नाफा सुरक्षित गर्ने प्रवृत्ति व्यापक छ ।

निर्माण सामग्रीको गुणस्तर परीक्षण कडाइका साथ हुनुपर्ने ठाउँमा प्राविधिक निरीक्षण औपचारिकतामै सीमित हुँदा बलियो संरचनाबिनाका सडक निर्माण भइरहेका छन् । कार्यसम्पादनको निष्पक्ष मूल्यांकन र स्वतन्त्र प्राविधिक परीक्षण प्रभावकारी नहुँदा सम्झौतामा तोकिएका मापदण्ड पूरा नभए पनि निर्माण कम्पनीले सजिलै भुक्तानी पाउने गरेका छन् । यसरी विकास परियोजनाको केन्द्रमा नागरिकको सुरक्षा नभई आर्थिक स्वार्थ हावी हुँदा सडक दुर्घटना जोखिमको मैदान बन्न पुगेको छ ।

कागजी औपचारिकतामै सीमित सवारीसाधन परीक्षण

सवारीसाधनको नियमित प्राविधिक परीक्षण सडक दुर्घटना न्यूनीकरणको महत्त्वपूर्ण आधार हो । ब्रेक प्रणाली, टायरको अवस्था, स्टेरिङ नियन्त्रण, बत्ती, सस्पेन्सन, सिट संरचना, आपत्कालीन ढोका जस्ता पक्षहरूको नियमित वैज्ञानिक परीक्षण भएमा सडक सुरक्षामा योगदान गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, निम्न र मध्यम आय भएका देशहरूमा हुने सडक दुर्घटनाको ठूलो हिस्सा प्राविधिक कमजोरी र अपर्याप्त मर्मतसँग जोडिएको छ ।

नेपालमा सवारीसाधनको मेकानिकल अवस्था परीक्षण गर्ने प्रणाली पनि भ्रष्टाचारमुक्त छैन । थोत्रा र जर्जर गाडीहरूलाई समेत केही पैसाको लोभमा यातायात व्यवस्था कार्यालयका कर्मचारीले सञ्चालनयोग्य रहेको प्रमाणपत्र बाँड्ने गरेका छन् । यसले प्राविधिक गडबडीका कारण हुने दुर्घटनालाई बढाएको छ । सिन्डिकेट र राजनीतिक संरक्षणका कारण थोत्रा सवारीसाधनहरू विस्थापित हुन सकेका छैनन् । नियमनकारी निकायहरू केवल राजस्व र जरिवानामा केन्द्रित हुँदा सडकमा दुर्घटना बढिरहेको छ ।

यातायात व्यवस्था कार्यालयको भौतिक पूर्वाधार, उपकरण र दक्ष प्राविधिक जनशक्ति सीमित छ । कतिपय कार्यालयमा परीक्षण उपकरणकै अभाव छ । यस्तो अवस्थामा परीक्षण प्रक्रिया औपचारिकतामै सीमित हुने गरेको छ । नेपालका ग्रामीण सडकमा सञ्चालित अधिकांश सार्वजनिक सवारीसाधन १५ देखि २० वर्षभन्दा पुराना छन् ।

नियमित र प्राविधिक परीक्षणबिना यस्ता सवारीसाधन सञ्चालनमा रहँदा दुर्घटनाको जोखिम बढाइरहेको छ । उत्सर्जन परीक्षण पनि धेरैजसो सवारीका लागि स्टिकर नवीकरणको औपचारिकतामै सीमित छ । कठोर प्राविधिक परीक्षणबिनाका सार्वजनिक यातायातलाई गुणस्तरहीन सडकमा गुड्न दिँदा सवारी दुर्घटना गति बढिरहेको छ ।

ट्राफिकलाई नियमभन्दा घूस प्यारो

सडक सुरक्षा सुनिश्चित गर्ने पहिलो कदम हो– ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन । सवारी जाँच, गति नियन्त्रण, ओभरलोड जाँच, मादक पदार्थ सेवन परीक्षण, हेलमेट र सिटबेल्ट जस्ता सुरक्षा उपकरणको निरीक्षण अनि जरिवाना प्रक्रियाले सवारीलाई अनुशासित बनाउँछ । तर, नेपालमा यी प्रक्रिया प्रभावकारी र नियमसंगत रूपमा हुन सकेको छैन ।

कैयौं ठाउँमा ट्राफिक प्रहरीले घूसको लोभमा नियममा नमिल्नेलाई ‘मिल्ने’ बनाइरहेका छन् । अख्तियारले विगत ५ वर्षमा गरेका स्टिङ अपरेसनमध्ये करिब ८ प्रतिशत ट्राफिक तथा जनपथ प्रहरीहरू रहेका छन् ।

ट्राफिक नियम कार्यान्वयनमा भ्रष्टाचारको प्रभाव व्यापक छ । कतिपय ट्राफिकले ‘लेनदेन’ को लोभमा चालकको गैरकानुनी कार्यलाई देखेको नदेख्यै गरिदिन्छन् । सवारी चेकप्वाइन्टमा घूस लेनदेन सामान्य अभ्यास जस्तो देखिन्छ । सार्वजनिक सवारी, निजी गाडी वा ठूला ट्रकका चालकले ट्राफिकलाई घूस दिएर गैरकानुनी कार्यलाई ‘कानुनी’ बनाइरहेका छन् ।

चालकले नियम उल्लंघन गर्दा पनि केही पैसा दिएर जरिवाना वा दण्डबाट उन्मुक्ति पाउने अवस्था बढ्दै जाँदा त्यसले दुर्घटना निम्त्याइरहेको छ । विश्व बैंकको एक प्रतिवेदनका अनुसार, ट्राफिक प्रहरीमा व्याप्त भ्रष्टाचारले सडक दुर्घटना दर बढाउँछ । ट्राफिक नियम कार्यान्वयनमा समेत भ्रष्टाचारको छाया देखिन्छ । जरिवाना टार्न अनौपचारिक लेनदेन, प्रभावशाली व्यक्तिहरूलाई छुट तथा नियमित अनुगमनमा कमजोरीले कानुनको प्रभावकारिता घटाउँदै दुर्घटना बढाइरहेको छ ।

अबको बाटो

सडक दुर्घटना केवल व्यक्तिगत चालकको कमजोरी होइन । यसमा संगठित प्रणालीगत कमजोरी र भ्रष्टाचार मुख्य कारक छन् । यसको समाधानका लागि केही सुधार आवश्यक छन् ।

पहिलो, लाइसेन्स वितरण प्रक्रियालाई पूर्ण रूपमा दक्षता परीक्षणमा केन्द्रित गर्दै पारदर्शी र दलालमुक्त बनाउनु जरुरी छ । लिखित परीक्षा, ट्रायल परीक्षण र प्रशिक्षणको सम्पूर्ण तथ्यांक सार्वजनिक डिजिटल प्लाटफर्ममा राख्ने प्रणालीको विकास गर्नुपर्छ । दलाल तथा पैसाको खेलले उत्पादन गर्ने ‘अयोग्य चालक’ लाई रोक्न सरकारले प्रभावकारी नीति बनाएर अपरेसन चलाउनुपर्छ ।

दोस्रो, सडक निर्माण र मर्मतमा तेस्रो पक्षबाट प्राविधिक परीक्षण अनिवार्य गर्नुपर्छ । ठेक्का प्रक्रियामा पारदर्शिता, निरीक्षणको नियमित अनुगमन र गुणस्तर मापदण्ड कडाइका साथ कार्यान्वयन आवश्यक छ । यसले सडकको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ । यो सडकको भौतिक मजबुतीका साथै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न पनि अनिवार्य छ । तेस्रो, सवारीसाधन परीक्षणमा आधुनिक उपकरण र स्वचालित रेकर्ड प्रणाली लागू गर्नुपर्छ ।

ब्रेक, टायर, सस्पेन्सन, धूवाँ उत्सर्जन लगायतका सबै परीक्षण स्वतन्त्र, वैज्ञानिक र नियमित हुनुपर्छ । डिजिटल रेकर्डले वास्तविक परीक्षण गर्न र अनियमितता कम गर्न योगदान गर्छ । ट्राफिक नियम कार्यान्वयनमा सडकमा क्यामरा आधारित निगरानी, डिजिटल जरिवाना प्रणाली र स्वतन्त्र अनुगमन आवश्यक छ ।

चौथो, यातायात व्यवस्थाको सम्पूर्ण चक्रमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्ने प्रस्ट रणनीतिक योजना तय गरिनुपर्छ, अन्यथा सडक दुर्घटना घटाउन सकिन्न । यातायात व्यवस्था कार्यालय तथा सडक निर्माण र ट्राफिक नियम कार्यान्वयन गर्ने निकायसम्म विद्यमान भ्रष्टाचारको अन्त्य सडक दुर्घटना नियन्त्रणको एक अनिवार्य पूर्वसर्त हो ।

अन्त्यमा, नेपालमा सडक दुर्घटना बढ्नु संयोग नभई संस्थागत भ्रष्टाचार, कमजोर अनुगमन र गैरजवाफदेही संरचनाको परिणाम हो । जबसम्म लाइसेन्स प्रणाली, सडक निर्माण, सवारी परीक्षण र ट्राफिक कार्यान्वयनको सम्पूर्ण सञ्जाल पारदर्शी, उत्तरदायी र भ्रष्टाचारमुक्त हुँदैनन्, तबसम्म सडक दुर्घटना घटाउन सकिँदैन । यस्ता निकायमा जकडिएको भ्रष्टाचारको जालो नतोडेसम्म सडक दुर्घटना हाम्रो विकासको स्थायी छाया बनिरहनेछ ।

दृष्टिकोण

लोकप्रियतावादको नेपाली सप्को

- कान्तिपुर संवाददाता,सादेशमणि पोखरेल

पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा एउटा शब्द भाइरल बन्यो । वर्तमान समयमा पनि यो शब्दको प्रयोग भइरहेकै छ । यो हो– ‘पपुलिजम’ अर्थात् ‘लोकप्रियतावाद’ ।

यो शब्द ल्याटिन भाषाको ‘पपुलस’ बाट आएको हो, जसको अर्थ ‘पिपल्स’ वा ‘मान्छे’ हो । यसको उत्पत्ति अठारौं शताब्दीको मध्य वा सन् १८५८ ताका भएको पाइन्छ । रुसको जार शासकलाई फाल्न सन अठार सयको मध्यतिर भएको नारोडनीकी आन्दोलनले लोकप्रियतावाद शब्दलाई राजनीतिक रूपरंग दियो । रुसमा नारोडको अर्थ मान्छे भन्ने बुझिन्छ ।

तर, विश्वास गरिन्छ– यस शब्दको राजनीतिक विस्तार अमेरिकामा सन् १८९० ताका स्थापना भएको अमेरिकी पिपल्स पार्टीले गरेको हो ।

मोनाश विश्वविद्यालय अस्ट्रेलियाका प्राध्यापक बेन्जामिन मफिटको पुस्तक ‘लोकप्रियतावादको विश्वव्यापी उदय’ को प्रकाशन सन् २०१६ मा स्टानफोर्ड विश्वविद्यालयले गर्‍यो । यो पुस्तक प्रकाशनको समय (सन् २०१५–१६) विश्व राजनीतिमा ध्रुवीकरणको रेखा निम्तिँदै थियो, जुन बेला बेलायतमा ब्रेक्जिट, अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, युरोप तथा ल्याटिन अमेरिकामा दक्षिणपन्थी तथा वामपन्थी शक्तिहरूको परीक्षण तथा हुर्कने लर्को लाग्दै थियो ।

यस पुस्तककै माध्यमबाट लेखक मफिटले राजनीतिलाई ग्ल्यामर वा स्टाइलका रूपमा वर्णन गरेका छन्, जसको छेकछन्द नेपाली राजनीतिक सेलेब्रिटीहरूसँग लगभग मिल्छ । यसको मेलोमेसो राजनीतिक विषयवस्तुभन्दा लवाइ, खुवाइ, हिँडाइ, बोलाइ वा समग्रमा लोकप्रियावादी छवि आदिसँग मेल खान्छ ।

बेमौसमी प्रवृत्ति

मुलुकमा निर्वाचनले एक प्रकारको स्पष्ट म्यान्डेट दिइसकेको छ, अब घोषणापत्रीय वाचाका कार्यान्वयन मात्रै बाँकी छ । नेपाली मूलधारका दलहरूले लगभग सीमा बन्द गरिसकेको सबैसामु छरपस्ट छ । समाजवादी टोपी सबैमा फिट छ, तर लोकप्रियतावादी टोपी पनि सबैमा फिट नहुन सक्छ । सबै लोकप्रिय बन्न चाहन्छन्– बालेन, रवि र गगनजस्तै ।

किनकि डिजिटल फ्रेमको लोकप्रियतावादले जीवनस्तर स्क्रिनमैत्री बनाएको छ । एक हिसाबले यसलाई नेपाली ग्रासरुटमा अवधारणाका रूपमा परिभाषित गरेको पाइन्छ, जसले साभ्रान्त वर्गविरुद्ध बोल्ने तथा जनमानसको समस्याको द्रुत समाधान गर्ने भनेर न्यारेटिभ विकास गरेको छ ।
यसैकारण बेमौसमी प्रवृत्तिको समाधान खोज्नु आवश्यक छ । यसका लागि संस्थागत सबलता, नीतिगत राजनीतिक व्यवस्था, पार्टीमा आन्तरिक लोकतन्त्र तथा सामाजिक सञ्जालको विवेकशील उपयोगमा ध्यान दिनुपर्छ ।

बेमौसमी तथा चुनावमैत्री यस्ता लोकप्रियतावादले हाम्रा विकासे कार्यक्रम तथा रणनीतिमा खासै प्रभाव पारेको देखिन्न । तर, वर्तमानमा द्विविधा धेरै छन् ।

नेपालको हकमा यसलाई थप प्रभाव नेपालकै राजनीतिक दलहरूले पारेका छन् । तर, वर्तमानमा सस्ता र लोकप्रियतावादी नारा जनताले नपत्याइदिँदा नेतावर्ग यही प्रियतावाद दोस्रोले उपयोग गरिदियो भनेर कुर्लिरहेका छन् । सचेत र ‘डिजिटाइज्ड’ जनता अब यसको लेखाजोखा सहजै गर्न सक्ने भएका छन् । त्यसैले अबको समय वा भविष्यमा बालेनको हात हल्लाई र गगनको विद्रोहमा लोकप्रियतावाद सीमित नबन्न सक्छ ।

हरेक निर्वाचनमैत्री प्रियतावाद

संरचनागत हिसाबले प्रियतावादलाई राजनीतिक प्रणालीको फ्याक्टरका रूपमा हेरिएको छैन । न यो राजनीतिक प्रणालीको आवश्यक वस्तु नै हो । तर, यो राजनीतिको ‘स्टाइल’, रणनीति तथा गति कम वा बढी गराउने उत्प्रेरक भने पक्का हो ।

यसका विश्वव्यापी उदाहरण हुन्– सन् २०१६ मा बेलायतमा भएको ब्रेक्जिटको ‘नियन्त्रण फिर्ता गर’ भन्ने नारा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीका बेला लागेको चायवाला नारा, भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको सन् १९९० को कुलीनताविरुद्ध व्यक्तिको नारा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो राष्ट्रपतीय निर्वाचनको ‘अमेरिकालाई फेरि महान् बनाऔं’ भन्ने नारा । यसले जटिल र कुटिल मामिलालाई प्रियतावादी नाराकै सप्कोबाट स–साना तथा स्पष्ट बुझिने गरी जनमानसमा छर्न सफल भएको थियो ।

लोकप्रियतावादी जगमा ब्रेक्जिट सफल भयो, नरेन्द्र मोदी सफल राजनीतिक प्रभावसहित तीन पटक प्रधानमन्त्री बने, ह्युगो चाभेज चार पटक भेनेजुएलाको राष्ट्रपति बने, डोनाल्ड ट्रम्प फेरि अमेरिकी राष्ट्रपति बन्न सफल भए ।

यसर्थ विश्वव्यापी सफल प्रयासपछि पछिल्लो समय नेपालको निर्वाचन, अधिवेशन र दलीय प्रणालीमा पनि चलाखीपूर्ण हिसाबले यसलाई ‘कनेक्ट’ गरिसकिएको छ । यही चुनावको नतिजाले यस्तै प्रकारको झल्को दिएको लगभग देखिन्छ ।

नेपाली चुनावी माहोलमा लोप्रियतावाद हाबी बनेको उदाहरण त छैन । तर, वर्तमान चुनावमा यसको फेरो समातिएको चुनावी परिणामले स्पष्ट पारेको छ । किनकि व्यक्ति डिजिटल छ र थप बन्न चाहन्छ । जब बालेन फ्याक्टर प्रबल भयो, रवि फ्याक्टर फिका बनेको महसुुस भयो, लोकप्रियतावादी हिसाबमा । यसको दिगो प्रभाव तब देखिन्छ, जब रास्वपा स्वयंमा घोषणापत्रका आधारमा निर्णय निर्माणमा द्विविधा देखापर्न थाल्छ । गगन अर्का पात्र हुन्, जसलाई फिटिक्कै ‘डिस्मेन्टल’ गर्न सकेन, देउवामुखी निवर्तमान संस्थापनले ।

तर, वर्तमानमा जनतासामु फिका परे । तर, यसले पनि गगनको लोकप्रियतावादलाई थप टेवा पुर्‍याइदिन सक्छ । यसैकारण गगन कांग्रेसीजनका बढी र जनताका कम हुन पुगे । अर्का पात्र महेश बस्नेत लोकप्रियतावादमा रमाउने पात्र हुन्, जो सुरुमा र वर्तमानमा थप फिका बन्न पुगे ।
डिजिटल समयमा उपयुक्तता मात्रै खोज्नु एक किसिमले घट्नुसमेत हो । घटाइका दुई स्वरूप छन्, जसले ‘क्रमिक र एकैपटक’ को भाव बोक्छन् । प्रायः लोकप्रियतावादमा विश्वास गर्नेहरू ‘एकैपल्ट’ को अवस्थामा पुगेको माथिका उदाहरणले पुष्टि गर्छन् । यसैकारण मात्रात्मक हिसाबले प्रवृत्तिभन्दा जनताको प्रकृतिमा ध्यान दिनु जरुरी छ ।

गणितको हिसाबमा दुईकोणीय समीकरणको अभ्यास छ । तर, नेपाली राजनीतिको समीकरण दुईकोणीय, त्रिकोणीय हुँदै बहुकोणीय बन्ने अभ्यासमा बिग्रिएको छ । कोण र समीकरण अब सार्थक बन्न नसक्ला कि ? तर, लोकप्रियवाद र नवलोकप्रियतावादले अबको परिवर्तनको हावालाई नछोला भन्न सकिन्न ।

सम्झौताको ठेली र निष्कर्ष

व्यवस्थापन विज्ञानमा एक अनौठो तर भरपर्दो चक्रबारे अध्ययन गरिन्छ– उत्पादन जीवन चक्र । यसले उत्पादित वस्तु वा सेवाको सीमा उसले व्यथित गर्ने अवस्थामा भर पर्छ भनी विश्वास गर्छ । यसमा चक्र सुरुवाती अवस्था, बढेको अवस्था, वयस्क अवस्था हुँदै ओर्लने अवस्थामा पुग्छ । उत्पादनले वयस्क अवस्थामा जति विश्वास वा ख्याति प्राप्त गर्छ, सो उत्पादन उति नै दिगो हुन्छ भन्ने विश्वास गरिन्छ ।

र, यसै अवस्थाका आधारमा गिरावट समयको तयसमेत गरिन्छ । अब नेपाली लोकप्रियतावादलाई यसै उत्पादन चक्रसँग तुलना गर्दा विश्वासको खडेरी लागेका नेपाली विद्यमान दलहरूमा जनताको विश्वास ज्यादै कम भएको पाइन्छ । यसैका आधारमा नेपाली लोकप्रियवादी दलहरूको आयु तय गरिन्छ । यसर्थ लोकप्रियतावाद नेपाली परिप्रेक्ष्यमा माथि उल्लेख भएझैं उत्पादन चक्रजस्तो नहोस् ।

नेपाल र विश्व राजनीतिमै लोकप्रियतावादको उन्मूलन र अन्त्य सहज छैन तर निवारण पक्का छ । यसको मूलमन्त्र हो– संस्थागत सन्तुलनलाई सबलीकरण गर्नु । यसकै आधारमा प्रजातन्त्रमा खर्च भएको शक्तिको एकीकरण, निर्वाचन पूर्वको गठबन्धन, नीतिगत सुधार, वास्तविकतामा आधारित स्वच्छन्द राजनीतिक प्रणाली, दण्ड र सजायका लागि मेगा संयन्त्रको निर्माण हुन सक्छ ।

राजनीतिक शिक्षा, नेपाली राजनीतिक परिपाटीमा संस्थागत बन्न नसकेको आन्तरिक लोकतन्त्र, आर्थिक समानता, गुणस्तरियतामा आधारित मिडिया साक्षरता, समावेशी राजनीतिक प्रतिनिधित्वजस्ता मूलभूत तत्त्व विकास गर्न सके लोकप्रियतावादी राजनीतिक प्रणाली फिका बन्न सक्छ । न यसका लागि राजनीतिक सम्झौता नै गर्नुपर्छ न ठूलो मूल्य नै चुकाउनुपर्छ ।

Page 7
अर्थ वाणिज्य

आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

राजस्व संकलन ११, आर्थिक वृद्धिदर ५.५ र मुद्रास्फीति ५ प्रतिशतको लक्ष्य
- कान्तिपुर संवाददाता

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सिलिङ करिब १८ खर्ब ९० अर्ब रुपैयाँ तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले बजेट सिलिङ तोकेको हो । आयोगले फागुन पहिलो साता नै अर्थ मन्त्रालयमा पेस गरेको ‘राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ मा उक्त सिलिङ तोकिएको छ ।

समितिले मार्गदर्शन गरेको बजेटको सिलिङ चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा करिब ७४ अर्ब अथवा करिब ४ प्रतिशतले कम हो । यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रदान गरिएको सिलिङको बजेटमा स्रोत जुटाउन करिब ११ प्रतिशतले राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको छ । यसअनुसार आगामी वर्षका लागि करिब १२ खर्ब राजस्व संकलनको लक्ष्य रहनेछ ।

वैदेशिक सहायता बढाउन आयोगको सुझाव छ । आगामी बजेटका लागि वैदेशिक अनुदान करिब ५, वैदेशिक ऋण १५ र आन्तरिक ऋण १४ प्रतिशतले बढाउन समितिले भनेको छ । वैदेशिक अनुदान तथा ऋणसमेत अपेक्षाअनुसार प्राप्त गर्न नसकिएकाले बजेटलाई यथार्थपरक बनाउन गत वर्षभन्दा कम बजेट सिलिङ तोकिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट ल्याइए पनि अन्तरिम सरकारले त्यसमा करिब पौने ३ खर्ब घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरिएको छ ।

आगामी आर्थिक वर्षमा राजस्व केही बढे पनि स्रोतमा चाप पर्ने र विकास निर्माणका लागि ठूलो रकम नरहने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । अर्थ मन्त्रालयले स्रोत अनुमान समितिले दिएको सीमामा रहेर विभिन्न मन्त्रालयलाई पनि सिलिङ तोकिसकेको छ । अब मन्त्रालयहरूले मातहतका निकायमा बजेटको सिलिङ पठाएसँगै बजेट माग सुरु हुनेछ ।

सरकारले ठूलो आकारको बजेट ल्याउने तर कार्यान्वयन गर्ने क्रममा राजस्व र खर्च दुवै लक्ष्यअनुरूप गर्न नसक्ने देखिन्छ । त्यसलाई अन्त्य गर्दै बजेटमा आमजनताको विश्वास बढाउन यथार्थपरक बजेट ल्याइएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । ‘उपलब्ध स्रोतको कुशल विनियोजन, आयोजना तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन, राजस्व संकलन सुदृढीकरण, तीन तहबीच स्पष्ट कार्य विभाजनमार्फत लक्षित उद्देश्य पूरा हुने गरी बजेट ल्याउनुपर्छ,’ उनले भने, ‘आगामी बजेटमा साना पूर्वाधार र झिनामसिना कार्यक्रम संघीय सरकारले नगर्ने, आयोजना छनोट, व्यवस्थापन र अनुगमन एवं मूल्यांकनका साथै पुँजीगत खर्च बढाउने जिम्मेवारीसहित योजना आयोगलाई प्रभावकारी बनाउनुपर्छ ।’ 
यस वर्ष कुल विनियोजित बजेटको करिब ३९ प्रतिशत चालु खर्चका लागि विनियोजन गरिएको छ । तर आगामी वर्षका लागि कुल बजेटमा चालु खर्चको हिस्सा घटाएर करिब ३६ प्रतिशत बनाउन समितिले भनेको छ । आगामी वर्षका लागि पुँजीगत खर्च ४ खर्बभन्दा कम गर्न सुझाइएको छ ।

यस वर्ष कुल विनियोजित बजेटको करिब ३९ प्रतिशत चालु खर्चका लागि विनियोजन गरिएको छ । तर आगामी वर्षका लागि कुल बजेटमा चालु खर्चको हिस्सा घटाएर करिब ३६ प्रतिशत बनाउन समितिले भनेको छ । आगामी वर्षका लागि पुँजीगत खर्च ४ खर्बभन्दा कम गर्न सुझाइएको छ । यो चालु आर्थिक वर्षको तुलनामा कम हो । यस वर्ष सरकारले पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

चालु खर्च भने आगामी वर्ष पनि बराबर नै हुनेछ । चालु खर्च र वित्तीय व्यवस्थापनमा कटौती गर्ने स्थान नभएपछि पुँजीगत खर्च घटाउनुपरेको स्रोतले बताएको छ । ‘आगामी वर्षको बजेटका लागि आन्तरिक ऋण करिब ३ खर्ब ७५ अर्ब र बाह्य ऋण २ खर्ब बनाउन सुझाइएको छ,’ स्रोतले भन्यो ।

यस वर्ष सरकारले सुरुमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट घोषणा गरेकामा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ कायम गरिएको छ । सुरुमा मनपरी योजना समावेश गरेर ठूलो आकारको बजेट ल्याउने अनि अर्धवार्षिक समीक्षामार्फत भारी कटौती गर्ने विकृति पछिल्ला वर्षमा मौलाउँदै गएको छ । स्रोत जुटाउन र खर्च गर्न नसकेपछि अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा सुरुमा कुल विनियोजित बजेटमा २ खर्ब ७५ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ घटाएका हुन् ।

चालु आर्थिक वर्षमा एमालेबाट अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । ठूलो आकारमा विनियोजित बजेट खर्चिन नसक्ने देखिएपछि संशोधन गर्दै १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा झारिएको बताइएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोडबाट घटाएर ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख रुपैयाँमा कायम गरिएको छ । चालु आर्थिक वर्षको फागुन तेस्रो सातासम्म पुँजीगत खर्च १८.७५ प्रतिशत मात्र छ ।

पुँजीगत खर्चको अवस्था एकदमै दयनीय रहेको स्वयं मन्त्रालयकै अधिकारी नै स्विकार्छन् । मन्त्रालयले चालु आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकामा यसलाई घटाएर २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बनाइएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँबाट घटाएर ३ खर्ब १९ अर्ब ४ करोड ३९ रुपैयाँ कायम गरिएको छ । चालु वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने र उपभोक्ता मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा राख्ने लक्ष्यका साथ बजेटको संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको थियो ।

संशोधित रकममा चालुतर्फ ९५.३४, पुँजीगततर्फ ५९.६५ र वित्तीय व्यवस्थातर्फ ८५.०२ प्रतिशत खर्च हुने अनुमान रहेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आवमा पुँजीगततर्फ ५९.६२ प्रतिशत खर्च हुने देखिएको र जुन विगत वर्षहरूको औसतभन्दा राम्रो प्रतिशत हुने अनुमान रहेको बताइएको छ ।

आगामी वर्षको बजेट यथार्थपरक, स्रोत सुनिश्चितता भएको र नतिजामुखी हुने गरी विनियोजन गर्न समितिले सुझाएको छ । स्रोत जुटाउने विभिन्न उपायमध्ये अहिले उचित विनियोजन र प्राथमिकीकरणमा जोड दिइएको छ । विगतमा सबै परियोजनामा बजेट छरिएको थियो । अहिले परियोजनाको प्राथमिकीकरणमार्फत स्रोत बचाउने र उक्त स्रोतले आयोजनामा बजेट सिलिङ बढाउने काम गरिएको योजना आयोग स्रोतले जनाएको छ । परियोजना प्राथमिकीकरणका लागि प्रतिफल सुनिश्चित हुनुपर्ने, कम पैसा राखेर छिटो सम्पन्न हुन लागेका, अत्यावश्यकबाहेक नयाँभन्दा पुराना आयोजनालाई प्राथमिकतालगायत विशेषता राखिएको स्रोतको दाबी छ ।

आगामी आर्थिक वर्षका लागि ५.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मुद्रास्फीतिको लक्ष्य राख्न पनि सुझाइएको छ । यस वर्ष सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि त्यो प्राप्ति हुने सम्भावना छैन । यद्यपि आगामी बजेटमा पुराना आयोजनालाई प्राथमिकता दिँदा एकातिर परियोजना सम्पन्न हुने र अर्कोतिर स्रोत अपुग आयोजनाको भीड पनि नहुने आयोगले बताएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा ३ करोडभन्दा कम लागतका आयोजना समावेश नगर्ने नीति कडाइका साथ लागू गर्न आयोगले भनेको छ । गत वर्ष पनि आयोगले परियोजना बैंकमा ३ करोडभन्दा कम लागतका आयोजना संघको बजेटमा समावेश नगर्ने व्यवस्था यस वर्ष पूर्ण रूपमा कार्यान्वयन हुने दाबी गरे पनि लागू हुन सकेको थिएन ।

सहरी विकास मन्त्रालयमार्फत संघीय बजेटमा एक लाखसम्मका आयोजना पनि समावेश भएका छन् । यद्यपि आगामी वर्षको बजेटका लागि आयोगले वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत आयोजना प्रतिवेदन तयार भएको, काम सुरु गर्ने अवस्थामा रहेको परियोजना मात्र आयोजना बैंकमा राख्न र ती मात्र बजेटमा राख्न सुझाएको छ ।

अब बन्ने रास्वपा सरकारका मुख्य आर्थिक एजेन्डा

यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले सरकार बनाउने सुनिश्चित भएको छ । आगामी बजेटमा यही दलको घोषणापत्रमा उल्लिखित धेरै एजेन्डा समावेश हुने देखिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्ले तनहुँ–१ बाट प्रतिनिधिसभा निर्वाचनमा चुनिएका छन् । रास्वपाका उपसभापतिसमेत रहेका वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका हुन् । वाग्ले नयाँ सरकारका सम्भावित अर्थमन्त्री हुन् । रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधार भन्दै रास्वपाले वाचापत्र सार्वजनिक गरेको थियो । ‘थिति बसाल्ने संकल्प’ नाम दिइएको उक्त वाचापत्रमा उल्लिखित १ सय बुँदामध्ये मुख्य आर्थिक एजेन्डा यस्ता छन् ।

– निजी लगानी र सक्षम, पारदर्शी तथा सहजीकरणमुखी सार्वजनिक भूमिकाको प्रभावकारी समन्वय गरिने

– निजी क्षेत्रले रोजगारी सिर्जना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानीयोग्य पुँजी प्रवाहमा अग्रणी भूमिका खेल्ने, सरकारको भूमिका नियामक तथा सहजीकरणकर्ता रहने

– कार्टेल, अस्वस्थ प्रतिस्पर्धा, रेन्ट–सिकिङ तथा नीतिगत दोहनजस्ता विकृति नियन्त्रण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, पेसागत, पारदर्शी र शक्तिशाली नियामकीय निकायको निर्माण तथा सुदृढीकरण गरिने

– राजनीति र नियमनबीचको अनुचित साँठगाँठ अन्त्य गर्दै नवप्रवर्तन, निष्पक्ष प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वलाई सन्तुलित रूपमा प्रवर्द्धन गर्ने सामाजिक बजार अर्थतन्त्रको रूपरेखाभित्र नेपालको यथार्थअनुकूल, सन्तुलित र दिगो आर्थिक मोडल अवलम्बन गरिने

– निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरण– यी दुई आधारलाई सन्तुलित रूपमा संयोजन गरिने

– लोककल्याणकारी राज्य लाभ वितरणमा मात्र सीमित नभई वृद्धिको स्वरूपलाई रूपान्तरण गर्दै दीर्घकालीन आर्थिक, सामाजिक र पर्यावरणीय सन्तुलनको आधार निर्माण गरिने

– आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज गरिने, झन्झटिला ऐन र तजबिजी प्रक्रिया शृंखलाबद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण (डुइङ्ग बिजिनेस) सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरूमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गरिने

– नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक’ बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धिदर वार्षिक ७ प्रतिशत कायम गरेर जग बसाउने

– पाँचदेखि सात वर्षभित्रै (प्रचलित मूल्यमा) प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १ खर्ब डलर नजिक पुग्ने लक्ष्य लिने

– सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गरिने, निजी क्षेत्रसँगको उन्नत समझदारी (कम्प्याक्ट) का आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करको बोझ घटाउने र कर कानुन तथा नियम भूतप्रभावी ढंगले लगाउने

– नियोजित कर छली रोक्ने, मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि हामीले ‘पारिवारिक भार’ का आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गरिने

– शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरूलाई प्रश्रय दिइने

– भारतीय रुपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकामा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरूसमेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गरिने

– स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्थासहित वान स्टप सेवा केन्द्रको कार्यान्वयन गरिने

– लगानी सहजीकरणका लागि आवश्यक कानुन, नियमावली तथा कार्यविधि निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने, डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रूपमा व्यवसाय दर्ता गराइने

– राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गरिने

– भ्रष्टाचार नियन्त्रण गर्न राजस्व अनुसन्धान र अनुगमन गर्ने चार्टर्ड एकाउन्टेन्टहरूको बाहुल्य रहेको दक्ष पेसागत इकाइ निर्माण गरिने

– नेपालको आर्थिक रूपान्तरणका लागि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनालाई दुई वर्षभित्र अनिवार्य सम्पन्न गर्ने गरी ‘नतिजामुखी समयबद्ध कार्ययोजना’ लागू गरिने

– पाँच वर्षमा भौतिक पूर्वाधारमा मात्र सीमित नभई डायस्पोराको पुँजी र ज्ञान आकर्षित गर्दै अन्तर्राष्ट्रिय स्तरको खेलकुद सहर, उच्च शिक्षा अनुसन्धान केन्द्र, विशिष्टीकृत स्वास्थ्य सेवा र सांस्कृतिक पर्यटन गरी १० नयाँ विविधीकृत क्षेत्रका आयोजनालाई ‘राष्ट्रिय गौरव’को सूचीमा समावेश गरी ‘फास्ट ट्र्याक’ मोडेलमा अगाडि बढाइने

– सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैरबैंकिङ वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण प्रणालीभित्र ल्याइने

– ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तलाई राष्ट्र बैंकको कडा नियमन र ‘घ’ वर्गका वित्तीय संस्थासरहको मापदण्डमा आबद्ध गराइने, साना संस्थाहरूको व्यवस्थित सञ्चालनका लागि ‘दोस्रो तहको नियामक’ गठन गरिने

– सरकार गठन भएको एक सय दिनभित्र सहकारीका साना बचतकर्ताको बचत खातामा फिर्ता गरिने, बचतकर्ताको कमाइ सुरक्षित गर्न राज्यका तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने

– बचतकर्ताको पैसा फिर्ता गराउन ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीतिअनुरूप ‘मिलापत्र’का लागि कानुनी बाटो प्रशस्त गरिदिने

– बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समयसीमा तोकेर उनीहरूलाई थुनाबाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिइने

– मिटरब्याज र अनुचित लेनदेन ‘आर्थिक अपराध’ का रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र यसका सबै जालोलाई कानुनी र संरचनात्मक रूपमा ध्वस्त पारिने

– विगतमा गरिएका सबै अवैध ‘तमसुक’ र कपाली तमसुकको न्यायिक छानबिन गरी पीडितहरूको जग्गा र सम्पत्ति फिर्ता गराउन एक अधिकारसम्पन्न ‘द्रुत न्याय कार्यदल’ गठन गरिने

– मिटरब्याजमुक्त नेपाल र वित्तीय सार्वभौमिकता सुनिश्चित गरिने

– पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने

– धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिइने

– नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाइने, प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गरिने

अर्थ वाणिज्य

द्रुतमार्गको ‘टोलप्लाजा’ फर्सिडोलमा बनाउने निर्णय अझै भएन

डीपीआर संशोधन भएपछि डुकुछाप–फर्सिडोल जोड्ने गरी पक्की पुल निर्माण गरिने
- कान्तिपुर संवाददाता,विमल खतिवडा (काठमाडौं)

काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरु बिन्दु ललितपुरस्थित खोकनाको ३.२ किलोमिटरको विवाद थाती राखेर बाँकी खण्डको काम थाल्ने भनिए पनि थप प्रक्रिया अघि बढ्न सकेको छैन । यसले यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन हुन सकेको छैन ।

मन्त्रिपरिषद्बाट डीपीआर संशोधन गरेर काम गर्ने निर्णय हुनासाथ काम थाल्न समस्या नहुने नेपाली सेनाको भनाइ छ । काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना कार्यालय भने अहिले मन्त्रिपरिषद्को निर्णय पर्खिएर बसेको छ ।

लामो समयसम्म खोकना विवादमा निकास ननिस्किएपछि प्रधानमन्त्री सुशीला कार्कीले वैकल्पिक योजनामा अघि बढ्न ५ फागुनमा निर्देशन दिएकी थिइन् । कार्कीको निर्देशनअनुसार खोकनाभन्दा ३.३ किलोमिटर पर फर्सिडोलमा टोलप्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन गर्ने विषय मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ । फर्सिडोलमा जोड्न लिंक सडक बनाइने भएको छ । सैनिक स्रोतका अनुसार डुकुछाप–फर्सिडोल जोड्ने गरी पक्की पुल निर्माण गरिनेछ ।

नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा लिएको आठ वर्ष पुग्दासम्म खोकना खण्डको ६.५ किलोमिटरको समस्या समाधान हुन सकेको थिएन । लामो समयसम्म खोकना विवादमा निकास ननिस्किएपछि प्रधानमन्त्री कार्कीले वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी थिइन् । खोकनाको समस्या समाधान नभएपछि प्रधानमन्त्री कार्की नेतृत्वको टोली ३ माघमा निर्माणाधीन द्रुतमार्गको स्थलगत निरीक्षणमा पुगेको थियो । त्यहाँको समस्याबारे स्थलगत बुझेर फर्किएको थियो ।

त्यसपछि सम्बन्धित मन्त्रालयका मन्त्री, प्रधानसेनापति, सचिव र आयोजना प्रमुखको उपस्थितिमा छलफल गरेर निकास निकाल्ने निर्णय भएको थियो । डीपीआर संशोधन गर्ने विषय रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा लैजानुपर्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले खोकनाको धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायबाट चासो व्यक्त भइरहेकाले वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी थिइन् ।

नेपाली सेनाले पेस गरेको डीपीआर सरोकारवाला मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात र अर्थ मन्त्रालयमा रायका लागि पठाइएको र राय पनि आइसकेको रक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मनोजकुमार आचार्यले जनाए । ‘दुवै मन्त्रालयबाट राय आइसकेको छ,’ उनले भने, ‘यहीबीचमा चुनावले गर्दा केही ढिलाइ भएको हो, अब डीपीआरबारे रक्षामा थप छलफल गरेर निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउँछौं ।’

सेनाका अनुसार २०७५ सालमा बनाएको डीपीआरमा टोलप्लाजा फर्सिडोलमा नै राख्ने उल्लेख छ । यसअनुसार उक्त क्षेत्रका स्थानीयलाई पनि सहज हुने गरी लिंक सडक बन्नेछ । फर्सिडोलतर्फ सडक बन्दै छ ।

‘संशोधन गर्नुपर्ने डीपीआर तयार छ, समस्या छैन,’ सैनिक स्रोतले भन्यो, ‘पहिलाको डीपीआरमा डुकुछापमा बस्तीमा ढलान गरे स्लोप बनाउनुपर्ने थियो, जसले गर्दा गाउँलाई जोखिम थियो, अब संशोधित डीपीआरमा त्यहाँ पक्की पुल बनाइनेछ ।’ संशोधित डीपीआरअनुसार डुकुछापमा पुल र फर्सिडोलमा टोल प्लाजा बन्ने सैन्य स्रोतले जनाएको छ ।

पहिला टोल प्लाजादेखि सिधै खोकनामा मात्र आएर सवारीसाधन रोक्न मिल्ने गरी डीपीआर तयार गरिएको थियो । ‘पहिला एक्सप्रेस–वे थियो,’ सैनिक स्रोतले भन्यो, ‘अब चाल्नाखेल, दक्षिणकाली, भैंसेपाटी, कान्ति राजमार्ग लिंक सडकका रूपमा फास्ट ट्र्याकमा जोडिनेछन् ।’

डीपीआर संशोधनको निर्णय मन्त्रिपरिषद्बाट आएपछि थप काम अघि बढाउन समस्या नहुने सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताए । ‘नीतिगत विषयको काम रक्षा मन्त्रालयमार्फत हुन्छ,’ उनले भने, ‘यसबारे मन्त्रालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय भएपछि काम अघि बढ्छ ।’

मन्त्रिपरिषद्ले २१ वैशाख २०७४ मा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २७ साउन २०७४ मा सेनालाई आयोजना हस्तान्तरण गरेको हो ।

त्यहीअनुसार सेनाको व्यवस्थापनमा यसको निर्माण भइरहेको छ । कुल दूरी ७०.९७७ किमिमध्ये सुरुङमार्गको दूरी मात्र १०.९०१ किमि पर्छ । त्यस्तै पुलको दूरी मात्र १२.८८५ किमि छ । फास्ट ट्र्याकमा अहिले विशेष प्रकृतिका ८९ मध्ये १३ वटा पुलको निर्माण भइसकेको छ ।

तीमध्ये खोकना खण्डमा पर्ने चार पुलको निर्माण सुरु हुन सकेको छैन । सातवटा सुरुङ निर्माणाधीन छन् । खोकना–डुकुछाप खण्डलाई प्याकेज नम्बर ११ मा प्याकेजमा राखिएको छ ।

त्यस्तै ८ र ९ नम्बर प्याकेजलाई दुई भाग ८ ‘क’ र ‘ख’ र ९ ‘क’ र ‘ख’ छन् । म्याद चैत २०८३ सम्म छ भने भौतिक प्रगति ४६ प्रतिशत छ । सेनाले व्यवस्थापनको जिम्मा लिएसँगै मंसिर २०८१ मा द्रुतमार्गको सबै काम सक्ने भनिएको थियो । उक्त समयभित्र नसकिएपछि चैत २०८३ सम्म म्याद थपिएको छ ।

डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत हुन समय लाग्दा व्यवस्थापनको जिम्मा लिनेबित्तिकै काम गर्न नपाएको नेपाली सेनाको दाबी छ । डीपीआरको काम १६ असोज २०७५ मा सुरु भई सोही वर्षको १९ माघमा तयार भएको थियो ।

त्यसपछि १ भदौ २०७६ मा मन्त्रिपरिद्षबाट स्वीकृत भएको थियो । प्याकेज १ देखि ७ सम्म जेठ २०७८ देखि १० माघ २०७९ मा ठेक्का भएको थियो । आयोजनाको डीपीआर पहिलो संशोधन ३० साउन २०८० र दोस्रो संशोधन २५ कात्तिक २०८१ मा भएको थियो ।

स्मार्ट सिटी, बाहिरी चक्रपथ, द्रुतमार्गसहितका आयोजना एकै ठाउँबाट बनाउँदा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा मासिने भन्दै स्थानीयले ती आयोजना एकै ठाउँमा बनाउन नहुने अडान लिँदै आएका छन् ।

आयोजनाले १३ वटा प्याकेज बनाएर यसको निर्माण गरिरहेको छ । खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या र यसको सुरु बिन्दु कहाँ हुने अझै टुंगिसकेको भने छैन ।

यस क्षेत्रमा डीपीआरबमोजिम मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी, गुठीको जग्गा १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनी छ ।

अहिलेसम्म खोकनालाई प्रस्थान बिन्दु र निजगढलाई अन्तिम बिन्दुका रूपमा राखिएको छ । भ्याटसहित आयोजनाको कुल लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रहेकामा अहिलेसम्म ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको छ ।

Page 8
अर्थ वाणिज्य

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५०

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने कम्पनीको विश्वास छ ।

नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बीएस ६ भी इन्जिन, सिङ्गल च्यानल एबीएस लिड हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल जस्ता आधुनिक फिचर समावेश गरिएको कम्पनीले जनाएको छ । यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ ।

यो मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन एफआई प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० लाई नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको कम्पनीले बताएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको छ ।

 

अर्थ वाणिज्य

स्थिर सरकार र सुशासनका लागि एनबीआईको आग्रह

- कान्तिपुर संवाददाता

राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको आमनिर्वाचनप्रति सन्तोष व्यक्त गरेको छ । अब बन्ने सरकार स्थिर र सुशासनका लागि हुनुपर्नेमा समेत उसको जोड छ ।

‘दिगो शान्ति स्थापना, आर्थिक स्थायित्व र समृद्धिका लागि कार्यरत राष्ट्रिय व्यावसायिक पहलले नवनिर्वाचित सरकारबाट भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता र  सुशासनद्वारा मुलुकलाई स्थायित्व र समृद्धितर्फ डोर्‍याउनेछ भन्ने दृढ अपेक्षा राख्छ,’ एनबीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुलुकको दिगो विकास र समृद्धिका लागि समाज र व्यवसाय एकअर्कामा निर्भर रहेको विज्ञप्तिमा जनाइएको छ ।

‘सफल समाजबिना व्यवसाय सफल बन्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सफल व्यवसायबिना समाज सफल बन्न सक्दैन भन्ने नारासहित क्रियाशील एनबीआईले नवनिर्वाचित सरकारसँग भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, पारदर्शिता, सुशासन र आर्थिक विकासका मुद्दामा रचनात्मक संवाद र सक्रिय सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्छ ।’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले राजनीतिक अस्थिरता, असहमति र सुरक्षा चुनौतीबीच पनि आफ्नो मुख्य जिम्मेवारी निर्वाह गरी मुलुकभरका १ सय ६५ वटै क्षेत्रमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा एनबीआईले प्रशंसासमेत गरेको छ । ‘हामी सम्माननीय प्रधानमन्त्रीज्यूलगायत सम्पूर्ण मन्त्रिपरिषद्प्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक उपलब्धिमा निर्वाचन आयोगको कुशल नेतृत्व, सम्पूर्ण निजामती कर्मचारीको समर्पण र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेना गरी चार वटै सुरक्षा निकायको समन्वय र सहकार्य उल्लेखनीय छ ।’

राष्ट्रिय व्यावसायिक पहलले निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकका रूपमा भूमिका निर्वाह गरेको जनाइएको छ । ‘हामीले मुलुकभरका विभिन्न निर्वाचन क्षेत्रमा १ सय १० भन्दा बढी पर्यवेक्षक परिचालन गरी मतदान प्रक्रिया, मतगणना र समग्र निर्वाचन व्यवस्थापनको अनुगमन गर्‍यौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता, सुरक्षा व्यवस्था र निष्पक्षतालाई प्रत्यक्ष रूपमा अवलोकन गरेका छन् । हाम्रो अवलोकनले छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको पुष्टि गर्छ ।’

अर्थ वाणिज्य

५१ हजार नेपालीले टिपाए आफ्नो विवरण

विवरण दर्ता गराएका श्रमिकको अवस्था हेरेर प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाउँदैं परराष्ट्र मन्त्रालय
- कान्तिपुर संवाददाता,होम कार्की (काठमाडौं)

खाडी क्षेत्रमा कार्यरत ५० हजारभन्दा बढी नेपाली श्रमिकले
आफ्नो अवस्थाबारे सरकारलाई जानकारी गराएका छन् । अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रमा तनाव बढ्दै गएपछि सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकको विवरण लिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यसपछि कन्सुलर विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा ५१ हजार ४ सय ५ जना नेपाली श्रमिकले विवरण दर्ता
गराएका हुन् । विभागले १९ फागुनमा अनलाइन दर्ता प्रणाली सुरु गरेको हो ।

विवरण दर्ता गराएका श्रमिकको अवस्था हेरेर प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘अनलाइनमा आफ्नो अवस्था राखेका आधारमा हामीले को नेपाली सुरक्षित र असुरक्षित भनेर पहिचान गरेका छौं । जसले असुरक्षित भनेर विवरण राखेको छ । उसलाई दूतावासमार्फत बुझ्ने काम हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘एकदमै असुरक्षित भएको पहिचान भएमा प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाइनेछ ।’

समस्यामा परेका नेपालीका लागि रोजगारदातासँग समेत समन्वय गर्ने काम गरिने उनले जनाए । ‘खाडीमा रहेका सबै नेपालीलाई आफ्नो अवस्थाका बारेमा जानकारी दिन अनलाइन फाराम भर्न आग्रह गरेका छौं,’ उनले भने । अनलाइन फारम भरेकामध्ये कति जनाले सुरक्षित र असुरक्षित भनेर खुलाएको भन्ने विभागले सार्वजनिक गरेको छैन ।

२८ फेब्रुअरीबाट सुरु भएको अमेरिका–इरान यद्धका कारण काठमाडौं र खाडी मुलुकबीचको हवाई सेवा १० दिन बन्द भएको थियो । हाल यूएईबाट आंशिक रूपमा उडान भइरहेको छ । दोहा–काठमाडौं उडान भने अझै सुरु भएको छैन । कतार एयरवेजले आइतबार युरोपका सीमित गन्तव्यमा भने उडान गरेको छ । उडान अवरुद्ध हुँदा नेपालीसहित सयौं यात्रु खाडी मुलुकका विभिन्न सहरमा अलपत्र परेका छन् । त्यस्तै नेपाली श्रमिकहरू स्वदेश फर्कन पाएका छैनन् ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरानले इजरायलसहित खाडीका कतार, साउदी अरब, यूएई, बहराइन, ओमान र इराकका विभिन्न स्थानमा आक्रमण जारी राखेको छ । कुवेतले इरानले आफ्नो देशलाई नै निसाना बनाएको आरोप लगाएको छ । युद्ध चर्किंदै गएपछि इरानले पनि खाडीका विभिन्न क्षेत्रमा प्रत्याक्रमण तीव्र पार्दै लगेको छ ।

युद्धका कारण खाडी मुलुकमा उद्योग–व्यवसाय र व्यापार भने बन्द नभए पनि निर्माण क्षेत्र र तेल–ग्यास परियोजनाको काममा भने असर परेको छ । निर्माण क्षेत्र र तेल–ग्यास परियोजनामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

इरानको मिसाइल आक्रमणबाट एक जना नेपालीको मृत्युसमेत भएको छ । १८ फागुनमा आबुधावीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो । दिवस मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए ।

यूएई सरकारले इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको जनाएको थियो । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १–१ जना नागरिकको मृत्यु भएको उल्लेख गरेको थियो । त्यसयता इरानले खाडी मुलुकहरूमा आक्रमण जारी राखेको छ ।

यूएईको परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा देशका विभिन्न पूर्वाधार तथा सर्वसाधारण लक्षित गर्दै १४ सयभन्दा बढी मिसाइल र ड्रोन प्रहार भएको उल्लेख गरिएको छ । इरानी हमलाका कारण खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरू त्रसित छन् । बहराइनमा कार्यरत गजेन्द्र तामाङले काम केही दिन रोकिएर पुनः सुरु भए पनि त्रास भने रहेको बताए ।

‘जब आकाशमा मिसाइल आउँछ । त्यतिबेला निकै खतराको महसुस हुन्छ । के हुन्छ भनेर त्रास हुन्छ,’ उनले भने, ‘निस्तेज बनाएको मिसाइलको टुक्रा कहाँ खस्छ भनेर केही भन्न सकिँदैन ।’ उनले विमानस्थल बन्द रहेकाले स्वदेश फर्कने अवस्था पनि नरहेको बताए ।

नेपाली श्रमिक बिस्तारै परिस्थितिसँग जानकार हुँदै गएको आबुधावीस्थित नेपाली दूतावासका प्रवक्ता रञ्जिता दाहालको भनाइ छ । ‘पहिला जुन तहको डरत्रास थियो ।

अहिले कम हुँदै गएको देखिन्छ,’ उनले भनिन्, ‘परिस्थिति अनुसार आफूलाई सम्हाल्दै गइरहेको देखिन्छ ।’ उनका अनुसार दूतावासले २४ घण्टा नै हटलाइन सेवा दिइरहेको छ । ‘कोही आपत्विपत् परेर तुरुन्तै नेपाल जान चाहेकालाई हामीले एयरलाइन्ससँग समन्वय गरिरहेका छौं,’ उनले भनिन्, ‘यहाँ जोखिम क्षेत्रबाहेकको स्थानमा काम भइरहेको छ ।’

उता कुवेतमा ट्रान्जिटमा अलपत्र परेका ५० जना नेपालीलाई नेपाली दूतावास र गैरआवासीय नेपाली संघले समन्वय गरी खाना र आवासको व्यवस्था मिलाएको परराष्ट्रले जनाएको छ ।

परराष्ट्रले खाडी क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई सरकारले नजिकबाट नियाल्ने क्रम जारी राखेको जनाएको छ ।

‘सबै नेपाली नागरिकहरूलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन र कानुन विपरीत हुने किसिमका फोटो वा भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदानप्रदान गर्ने कार्य नगर्नुहुन विशेष आग्रह गर्दछ,’ शनिबार जारी विज्ञप्तिमा परराष्ट्रले भनेको छ, ‘कुनै समस्या आइपरेमा सम्बन्धित मुलुकस्थित नेपाली नियोगले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।’

अर्थ वाणिज्य

खाडी तनावसँगै काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा भारी गिरावट

काठमाडौंबाट हिमालय एयरलाइन्स, जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेज र नेपाल वायुसेवा निगमका दैनिक १७ हाराहारी उडान कटौती
- कान्तिपुर संवाददाता,सुरज कुँवर (काठमाडौं)

इरानी भूमिमा अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही बढेपछि त्यसको प्रभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ । खाडीका नौ मुलुकले आफ्नो आकाशमा उडान बन्द गर्दा काठमाडौंमा अन्तर्राष्ट्रिय उडान चहलपहल र यात्रु संख्या १६ फागुनपछि तीव्र रूपमा घटेको काठमाडौं विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जनाएका छन् ।

अघिल्ला दिनमा स्थिर रहेको अन्तर्राष्ट्रिय उडान चहलपहल, इरानमा आक्रमण भएको दिनदेखि नै बिग्रिएको विमानस्थलको तथ्यांक छ । १५ फागुनमा अन्तर्राष्ट्रिय उडान ५४ प्रस्थान, ५२ आगमन गरी १ सय ६ वटा आवागमन भएकामा १६ फागुनमा ४९ आगमन र ४१ वटा उडान प्रस्थान गरी ९० वटा मात्रै भएका थिए । विमानस्थलका अनुसार शनिबारयता दिनको ४४ प्रतिशत हाराहारीले उडान सञ्चालनमा गिरावट आएको छ ।

१६ फागुनयता ७४ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छैनन् ।
यात्रु संख्याको तथ्यांकले पनि त्यस्तै अवस्था देखाउँछ । १५ फागुनमा काठमाडौंबाट दुईतर्फी १६ हजार ९ सय २ यात्रु आवागमन भएको थियो । यसमा काठमाडौंबाट विदेशिने ८ हजार १ सय १५ र काठमाडौं आउने ८ हजार ७ सय ८७ थिए । तर त्यसपछि यो संख्या घट्दो छ । बिहीबार काठमाडौं विमानस्थलमा दुईतर्फी ६ हजार ८ सय २ जनाले ओहोरदोहोर गरे ।

सामान्य दिनको दाँजोमा यो ६० प्रतिशत हाराहारीले कम हो । काठमाडौं विमानस्थलमा हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगम गरी ७ वटा वायुसेवाले खाडी क्षेत्रको उडान गर्दै आएका थिए । तर हालसम्म फ्लाई दुबईले मात्रै निश्चित संख्यामा यात्रु उद्धार उडान थालेको छ । बाँकी कतार एयरवेज, एयर अरेबिया, कुवेत एयरवेज र जजिरा एयरवेजले नेपाल उडान जारी राखेका छैनन् । फ्लाई दुबईले पनि उद्धार उडानलाई निरन्तरता दिएको छैन ।

इरानमा आक्रमण भएयता काठमाडौं–खाडीलगायत संसारका अन्य मार्गमा सञ्चालन हुने प्रमुख वायुसेवा कम्पनीको उडान संख्यामा पनि ठूलो गिरावट आएको हो । फ्लाइट ट्र्याकिङ प्लाटफर्म फ्लाइटराडारका अनुसार २७ फेब्रुअरीसम्म स्थिर रहेका यी उडान २८ फेब्रुअरीमा नाटकीय रूपमा घटेका छन् । तथ्यांकअनुसार एयर अरेबियाको उडान संख्या १५ फागुनको २ सय ४८ बाट घटेर १६ फागुनमा ८४ मा झरेको थियो । एमिरेट्स एयरलाइन्सको उडान संख्या ५ सय ३१ बाट घटेर २ सय २४ मा सीमित बनेको थियो ।

इतिहाद एयरवेजको उडान ३ सय ३४ बाट घटेर ९० मा सीमित भएको थियो । त्यस्तै नेपालमा दैनिक तीन उडान गर्ने फ्लाई दुबईको उडान पनि ३ सय ४३ बाट घटेर १ सय ८ मा झरेको थियो ।

यो अवरोध मार्चको पहिलो साता (१७ फागुनपछि) पनि जारी छ । १ मार्चपछि यो संख्या झन् भयावह देखिन्छ । फ्लाइटराडारको तथ्यांकले यी चार प्रमुख खाडीवाहक अन्तर्राष्ट्रिय वायुसेवाको कुल उडान संख्या २७ फेब्रुअरीमा १ हजार ४ सय ५६ रहेकामा २८ फेब्रुअरीमा घटेर ५ सय ६ मा झरेको देखाउँछ । जुन ६५ प्रतिशतको गिरावट हो ।

२१ फागुनपछि भने यी वायुसेवाको उडान संख्या बिस्तारै सुधार भएर ४ सय ८६ पुगेको थियो । फ्लाइटराडारका अनुसार, इरानमाथिको आक्रमणपछि मध्यपूर्वको हवाई क्षेत्र बन्द हुँदा काठमाडौं–खाडी मार्गमा सञ्चालन हुने धेरै उडान प्रभावित भए । धेरै वायुसेवा कम्पनीले आफ्नो उडान मार्ग परिवर्तन गरे वा उडान नै रद्द गरे ।

अवरोधपछि काठमाडौंबाट हिमालय एयरलाइन्स, जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेज र नेपाल वायुसेवा निगमका दैनिक १७ हाराहारी उडान कटौती भएका छन् । इरानमाथि संयुक्त अमेरिका–इजरायल आक्रमणपछि जबाफी हवाई हमलामा नागरिक उड्डयनसँग सम्बद्ध गैरसैनिक उडानको सुरक्षाका लागि विदेशी वायुसेवाले मध्यपूर्वमा धेरै उडान सञ्चालनमा रोक लगाएको भनेका छन् ।

समाचार

सामसङ ग्यालेक्सी एस २६ सिरिज प्रदर्शन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको कम्पनीले बताएको छ ।

यो सिरिज मानिसले आफ्नो फोनमा दैनिक गर्ने कामलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको हो । तालिका व्यवस्थापन गर्नेदेखि लिएर कन्टेन्ट बनाउनेसम्म, ग्यालेक्सी एस२६ सिरिजले प्रयोगकर्तालाई प्राविधिक जटिलताहरूको सट्टा परिणामहरूमा ध्यान केन्द्रित गर्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६+, र ग्यालेक्सी एस२६, अब नेपालमा मार्च ८ देखि मार्च १८, २०२६ सम्म प्रि–अर्डरका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताहरूको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसले एजेन्टिक एआईमार्फत सामसङका लागि नयाँ दिशा संकेत गर्छ ।’

Page 9
समाचार

देशभर लहर चल्दा रास्वपाका १० उम्मेदवारको भने जमानत जफत

- कान्तिपुर संवाददाता,कान्तिपुर संवाददाता (काठमाडौं)

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा परिणाम आइरहँदा केही निर्वाचन क्षेत्रमा भने उक्त पार्टीको पक्षमा सोचेजस्तो मत परेन । रास्वपाका १० उम्मेदवारको जमानत नै जफत भएको छ ।

जुम्लाबाट रास्वपा उम्मेदवार विनीता कठायतले सामाजिक सञ्जालमार्फत आफ्नो पक्षमा मत नआएपछि आक्रोश व्यक्त गर्दै लेखिन्, ‘कर्णाली र सुदूरपश्चिमका दुर्गम भेगले परिवर्तनको लहरलाई आत्मसात् गर्न नसक्नु किन होला ?’

२०७९ मा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी कठायत यस पटक भने जुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार थिइन् । जहाँ उनको जमानत जफत भयो । राप्रपाका ज्ञानबहादुर शाही र नेकपाका नरेश भण्डारीबीच प्रतिस्पर्धा भएको जुम्लामा कांग्रेसका दीपबहादुर शाही तेस्रो र एमालेका शान्तिलाल महत चौथो भए ।

निवर्तमान सांसद कठायत भने जमानत जफतसहित पाँचौं नम्बरमा रहिन् । त्यसैले उनले आफ्नो जमानत जफत भएको आक्रोश सामाजिक सञ्जालमा नै व्यक्त गरिन् ।

‘कर्णाली र सुदूरपश्चिमका दुर्गम भेगमा बस्ने हाम्रा दाजुभाइ–दिदीबहिनीले देशभरि उठेको परिवर्तनको लहरलाई अझै पूर्ण रूपमा आत्मसात् गर्न नसक्नु किन होला भन्ने प्रश्न आज मनमा गहिरो गरी उठ्छ । वर्षौंदेखि हामीले पिछडिएको पीडा बोकेका छौं । बाटो, शिक्षा, स्वास्थ्य, अवसर—हरेक क्षेत्रमा हामी पछि परेका छौं । तर अब केवल अरूलाई दोष दिएर मात्र बस्ने समय सकिएको छ,’ कठायतको आक्रोश थियो, ‘हामी किन पछाडि पर्‍यौं, भन्ने प्रश्नको उत्तर खोज्ने बेला आएको छ । आजको दिनमा पछाडि पर्नुको कारण हामीबाहेक अरू कोही हो भनेर मात्र दोष लगाउने ठाउँ अब बाँकी छैन ।’

देशका अधिकांश निर्वाचन क्षेत्र तथा जिल्लामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचारका क्रममा पुगेका थिए । जुम्लामा भने दुवै नेता पुगेनन् । जहाँ कठायत पराजित मात्रै बनिनन्, जमानत नै जफत भयो । उनले जुम्लामा ३९ हजार १ सय ७३ सदर मतमा ५ सय पनि कटाउन सकिनन् । यो निर्वाचन क्षेत्रमा जमानत जोगाउनका लागि उम्मेदवारले दस प्रतिशत अर्थात् ३ हजार ९ सय १८ मत ल्याउनुपर्नेमा कठायतको ४ सय २१ मत मात्र आयो । यहाँ कठायतसहित ६ उम्मेदवारको जमानत जफत भयो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल निर्वाचित भएको रुकुम पूर्वमा पनि रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ । यहाँ १८ हजार २ सय ४६ मत सदर भएकामा जमानत जोगाउनका लागि १ हजार ८ सय २५ रन आवश्यक पर्थ्यो । रुकुम पूर्वमा रास्वपा उम्मेदवार लखनकुमार थापाले ८ सय १९ मत मात्र प्राप्त गरेपछि जमानत जफत भयो ।

रास्वपाका डोल्पा उम्मेदवारको पनि जमानत जफत भएको छ । डोल्पामा जमानत जोगाउनका लागि १ हजार ५ सय ५१ मत आवश्यक पर्नेमा रास्वपा उम्मेदवार देवसिंह ऐडीले १ सय ८१ मत मात्र पाएका थिए ।

मुगुमा जमानत जोगाउन २ हजार १ सय २३ मत ल्याउनुपर्नेमा रास्वपाका भुवन टमटाले ५ सय ३० मत मात्र पाए । कालीकोटमा जमानत जोगाउनका लागि ३ हजार ९ सय ३८ मत ल्याउनुपर्नेमा रास्वपा उम्मेदवारले त्यो सीमा पार गर्न सकेनन् । रास्वपाका प्रकाश न्यौपानेको ३ हजार १ सय १ मत मात्र हुँदा जमानत जफत भयो ।

जाजरकोटमा रास्वपा उम्मेदवार राघव कार्कीको जमानत जफत भयो । यहाँ जमानत जोगाउन ५ हजार ७ सय ६७ मत आवश्यक पर्नेमा कार्कीको २ हजार ४ सय ७१ मत मात्रै आएको थियो । रुकुम पश्चिममा पनि रास्वपाको जमानत जफत भएको छ । यहाँ जमानत जोगाउन ५ हजार ९ सय ५३ मत प्राप्त गर्नुपर्नेमा रास्वपा उम्मेदवार मानबहादुर शाहीको ४ हजार ७६ मत मात्रै आएको थियो ।

हुम्लाबाट रास्वपा उम्मेदवार टासी ल्हान्जोमको जमानत जफत भयो । २१ हजार ९ सय ३५ मत सदर भएको हुम्लामा जमानत जोगाउन २ हजार १ सय ९४ मत आवश्यक पर्थ्यो । तर रास्वपा उम्मेदवार ल्हान्जोमको १ हजार ६४ मत मात्रै आयो । उनीसहित ४ जनाको जमानत जफत भएको छ ।
अछाम–१ मा रास्वपाका ओमप्रकाश रावलको जमानत जफत भएको छ । यो निर्वाचन क्षेत्रमा जमानत जोगाउनका लागि ३ हजार ३५ मत आवश्यक पर्नेमा रावलले १ हजार ७ सय ३९ मत मात्रै पाएका थिए ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पनि रास्वपा उम्मेदवारको जमानत जफत भयो । जम्मा सदर मत २१ हजार ८ सय ९७ रहेको यो क्षेत्रमा एमालेका क्षितिज थेबे निर्वाचित हुँदा ४ हजार १ सय ५५ मत ल्याएका रास्वपाका वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको हो ।

रास्वपाका पाँचथर उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङको पनि जमानत जफत भएको छ । यहाँ जमानत जोगाउनका लागि ६ हजार ६ सय ८९ मत ल्याउनुपर्नेमा थाम्सुहाङको ४ हजार १ सय ९७ मत मात्रै आयो ।

उनीसँगै यो क्षेत्रमा ११ उम्मेदवारको जमानत जफत भएको छ । सोलुखुम्बुमा पनि रास्वपा उम्मेदवार ऋषिधन थुलुङ राईको जमानत जफत भएको छ । जमानत जोगाउन ३ हजार ८ सय ४१ मत आवश्यक पर्नेमा रास्वपाका राईको ३ हजार ६ सय ४२ मत मात्रै आएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सदरको १० प्रतिशतभन्दा कम मत ल्याए उम्मेदवारको जमानत (धरौटी) जफत हुने व्यवस्था छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका ८२ उम्मेदवारको जमानत जफत भएको थियो ।

Page 10
खेलकुद

भारत ट्वान्टी–२० विश्वकप च्याम्पियन

उपाधि रक्षा गरेको भारत ट्वान्टी–२० विश्वकप ३ पटक जित्ने पहिलो राष्ट्र पनि भएको छ ।
- कान्तिपुर संवाददाता

भारतले आइतबार न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । २ सय ५६ रनको विजय लक्ष्य लिएर आएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो । 

भारतको विजयले अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा उपस्थित १ लाख समर्थकलाई खुशी बनाएका थिए । अधिकांश समर्थक भारतका रहेका थिए । भारत यही मैदानमा २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । न्युजिल्यान्ड यस पटक पनि फाइनलमा चुक्न पुग्यो । न्युजिल्यान्डले अझै सेता बलमा विश्वकप जित्न सकेको छैन । 

न्युजिल्यान्डबाट ओपनर टिम सेइफर्टले २६ बल खेलि २ चौका र ५ छक्कासहित ५२ तथा कप्तान मिचेल सान्टनरले ३५ बल खेलि ३ चौका र २ छक्कासहित ४३ रन बनाए । भारतको जस्प्रित बुमराहले ४ ओभरमा १५ रनमात्र खर्चेर ४ र अक्षर पटेलले ३ ओभरमा २७ रनमात्र खर्चेर ३ विकेट लिए । 

उपाधि रक्षा गर्ने भारत पहिलो टोली भएको छ । दुई वर्ष अघि वेस्ट इन्डिजमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । साथै भारत ट्वान्टी–२० विश्वकप ३ पटक जित्ने पहिलो राष्ट्र पनि भएको छ । ट्वान्टी–२० विश्वकपको १० संस्करणमा पहिलो पटक घरेलु टाली विजेता बनेको हो । 

यसअघि सञ्जु सामसनले ४६ बलमा ८९ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । पछिल्ला दुई इनिङ्समा क्रमशः अविजित ९७ र ८९ रन बनाएका सामसनले ५ चौका र ८ छक्का प्रहार गरेका थिए ।

भारतले ६ ओभरको पहिलो पावर प्लेमै विना क्षती ९२ रन जोडेर खेल आफ्नो पक्षमा ढल्काएको थियो । सामसन र अभिषेक शर्माले पहिलो विकेटमा ९८ रनको साझेदारी गरेपछि भारतले यस विश्वकपमा आफ्नो दोस्रो उच्च स्कोर बनाएको थियो । जिम्बावेविरुद्धको ‘सुपर एट’ को खेलमा पनि टोलीले २ सय ५८ रन बनाएको थियो । 

अभिषेकले २१ बलमा ५२ रन बनाए । देव्रेहाते स्पिनर रचिन रवीन्द्रको अफ स्टम्प बाहिर गएको बलमा आउट हुनुपूर्व उनले ६ चौका र ३ छक्का प्रहार गरे । प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो । सामसन र इशान किसन मिलेर पुन न्युजिल्यान्डका बलरमाथि निर्मम प्रहार गरेका थिए । सामसनले रवीन्द्रलाई लगातार तेस्रो छक्का प्रहार गर्दै प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक पुरा गरेका थिए । 

किशनले ५४ रन बनाए । उनले २५ बल खेलि समान ४ चौका र छक्का प्रहार गरे । जिम्मी निसमले एकै ओभरमा ३ विकेट लिएका थिए । उनले सामसन, किशन र कप्तान सूर्यकुमार यादवलाई शुन्यमा आउट गरेका थिए । तर त्योभन्दा अघि नै भारतले २ सय रनको स्कोरलाई उछिनिसकेको थियो । 

शिवम दुबेले अन्तिम ओभरमा निसमलाई ३ चौका र २ छक्का प्रहार गरेपछि भारतले २ सय ५० रनलाई उछिनेको थियो । दुबे ८ बलमा २६ रन बनाई अविजित रहे । 

खेलकुद

एन्फामा अनिश्चितकालीन तालाबन्दी

आफ्नो माग पूरा नभएसम्मका लागि तालाबन्दी नरोकिने खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताएका छन्
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित कार्यालयमा आइतबार अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

आफ्नो माग पूरा नभएसम्मका लागि तालाबन्दी नरोकिने खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताएका छन् । त्यस अगाडि विभिन्न माग राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सातदोबाटो पुगेका थिए ।

तर वार्ताका लागि एन्फा नेतृत्व त्यहाँ थिएनन् । त्यसपछि तालाबन्दी गरिएको हो । हजार दिनभन्दा बढी समयदेखि हुन नसकेको सहिद स्मारक लिग ए डिभिजनको आयोजना निश्चितता, खेलाडी अक्षय कोषबारे जानकारी तथा खेलाडीले पाउन बाँकी पुरस्कार राशिबारे कुराकानी गर्न खेलाडी संघ एन्फा पुगेको थियो ।

अध्यक्ष लामाका अनुसार एन्फासँग अक्षय कोषको विवरण माग गरिएको छ । यस्तै खेलाडीले सन् २०१७ देखि पाउनुपर्ने पुरस्कार राशि पनि पाएका छैनन् । सहिद स्मारक लिग ए डिभिजन भने आयोजना भएको तीन वर्षभन्दा बढी भइसकेको छ । अध्यक्ष लामाले भनेका छन्, ‘जहिलेसम्म हाम्रो माग सम्बोधन हुन्न, तालाबन्दी खुल्ने छैन ।’